You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

सहकारी ठगीमा अनुसन्धान प्रभावित नगर्न गृहमन्त्रीका नाममा परमादेश जारी हुनेमा सर्वोच्चको इजलास एकमत

- जयसिंह महरा

(काठमाडौं)
सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी अनुसन्धान हुनुपर्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ गरिरहेको इजलास एकमत भएको छ । आफ्ना मातहतका अनुसन्धान निकाय (प्रहरी) लाई सहकारी ठगीमा जाहेरी/सूचना/प्रतिवेदनमा निर्धक्क, निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न दिनू, दिलाउनू भनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीका नाममा परमादेश जारी गर्ने रायमा पनि न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदी एकमत भएका छन् । यो अवस्थामा उनले राजीनामा दिनुपर्ने/नपर्ने विषयमा मात्र राय बाझिएको छ । न्यायाधीश मल्लले यो सम्बन्धित व्यक्तिको ‘विवेक र नैतिकता’ मा भर पर्ने राय लेखेकी छन् भने सुवेदीले मार्गप्रशस्त गर्नु न्यायोचित हुने लेखेकी छन् । अब यो रिटमा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
सहकारी ठगीमा पीडितको उजुरीअनुसार लामिछानेमाथि अनुसन्धान गर्न र प्रभावित नगर्न परमादेश जारी हुनेमा इजलासको साझा राय
छ । ‘सहकारी ठगीजस्तो मुद्दामा पीडितको न्यायको हक, कानुनको सर्वोच्चता, मानवअधिकारको
मूल्य मान्यता र दण्डहीनताको अवस्थाप्रति अदालत सधैं गम्भीर हुन्छ । तसर्थ आफ्ना मातहतका अनुसन्धान गर्ने निकायलाई सहकारी ठगीमा जाहेरी/सूचना/प्रतिवेदनमा निर्धक्क, निष्पक्ष र स्वतन्त्र भएर अनुसन्धान गर्न दिनू, दिलाउनू
भनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीका नाममा परमादेश जारी गरिदिएको छ,’ दुवै न्यायाधीशको समान राय छ ।
न्यायाधीश मल्लको रायमा आफूमाथि अनुसन्धान हुने भएपछि पदबाट राजीनामा गर्नुपर्ने विषय गृहमन्त्रीको विवेक र नैतिकतामा भर पर्ने स्मरण गराइएको छ । तर, कानुनी अभावमा अदालतले पदबाट हटाउने आदेश दिन नसक्ने उनको राय छ । ‘सार्वजनिक पदमा रहने/नरहने, राजीनामा दिने भन्ने विषय नैतिकतासँग जोडिएको र सम्बन्धित व्यक्तिको आफ्नै विवेकबाट निर्णय गर्ने विषय हो,’ मल्लको राय छ ।

न्यायाधीश सुवेदीले भने गृहमन्त्रीको पदमा रहेको व्यक्तिविरुद्ध उजुरी आएमा त्यसको अनुसन्धान प्रभावित हुने भएकाले पद छाड्नु न्यायिक हुने राय लेखेकी छन् । ‘अपराधबारेको पहिलो सूचना ग्रहण गरी अनुसन्धान तहकिकात गर्ने निकाय गृह मन्त्रालयअन्तर्गत रहने भएकाबाट सम्बन्धित मन्त्रालयका गृहमन्त्रीकै विरुद्ध निज पदमा बहाल रहेकै अवस्थामा फौजदारी कसुर सम्बन्धमा उजुरी/जाहेरी दर्ता गर्ने वा अपराध अनुसन्धान तहकिकात गर्ने कार्य गर्न डक्टरिन अफ बायस, थ्यौरी अफ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट र फेयर ट्रायलका मान्य सिद्धान्तको दृष्टिकोणबाट विचार गर्दा पीडितको न्यायमा अवरोध हुँदैन भन्न मिल्दैन,’ सुवेदीले लेखेकी छन्, ‘न्यायमा त्यस्तो अवरोध हुन नदिने नैतिक कर्तव्य र जिम्मेवारी मन्त्रीको समेत हुन्छ ।’
न्यायाधीश सुवेदीले गृहमन्त्री लामिछानेलाई जिम्मेवारीबाट पदमुक्त गर्न आदेश दिनुपर्ने आधार उल्लेख गरेकी छन् । ‘सार्वभौमसत्ता आम नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहिताप्रति प्रतिबद्धता व्यक्त गर्दै नैतिक कर्तव्य बोध गरी गृहमन्त्रीले मार्गप्रशस्त गर्न परमादेशको आदेश जारी हुने ठहर्छ,’ उनले लेखेकी छन् । अन्तरिम आदेशका लागि भएको सुनुवाइमा न्यायाधीश मल्ल र सुवेदीबीच राय बाझिएपछि यो रिट निवेदन तीन वा तीनभन्दा बढी न्यायाधीश संलग्न इजलासमा पेस हुने भएको छ ।
त्यस्तै यसअघि लामिछानेमाथि कहीँ कतै उजुरी नपरेको भनेर सफाइ पत्र जारी गर्ने महान्यायाधिवक्ताको कार्यालयलाई अब अनुसन्धानको अनुगमन गर्न परमादेश जारी गर्ने रायमा पनि दुवै न्यायाधीशको समान राय छ । भनिएको छ, ‘निज (लामिछाने) विरुद्ध रहेको जाहेरी अनुसन्धान अगाडि बढे/नबढेको विषयको अनुगमन गर्नू/गराउनू भनी महान्यायाधिवक्ताको कार्यालयका नाउँमा समेत यो आदेश जारी गरिएको छ ।’ अनुसन्धान गर्ने निकायमा प्रभाव, दबाब वा असहयोग भए/नभएको समेत विवरण सम्बन्धित प्रहरी कार्यालय तथा जाहेरवाला पीडितसमेतबाट लिई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा बुझाउनुपर्नेमा न्यायाधीश एकमत छन् ।
अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगीको अनुसन्धानमा गृहमन्त्री लामिछानेले प्रभावित पार्ने भएकाले पदबाट निलम्बन गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध कास्की, रूपन्देही र चितवनका प्रहरी कार्यालयमा उजुरी नपरेको र अदालतमा मुद्दा विचाराधीन नरहेको भनी लेखेको पत्र खारेजको माग पनि गरिएको थियो । रिट निवेदनमाथि तीन दिन बहस सुनेर न्यायाधीशद्वय मल्ल र सुवेदीले आदेश जारी गरेका हुन् । न्यायाधीश मल्लले अनुसन्धान गर्ने निकायलाई सहकारी ठगीको उजुरी लिने र अनुसन्धान प्रभावित नपार्न उपप्रधान तथा गृहमन्त्रीलाई आदेश दिनुपर्ने उल्लेख गरेकी छन् भने न्यायाधीश सुवेदीले त्यसका अतिरिक्त गृहमन्त्रीले ‘नैतिक कर्तव्य बोध गरी मार्गप्रशस्त’ गर्न अदालतले परमादेश जारी गर्नुपर्ने राय लेखेकी छन् ।
सहकारी ठगीमा गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र लामिछानेको प्रभावमा प्रहरी अनुसन्धान प्रभावित भएको विषयमा सर्वोच्चका दुवै न्यायाधीशहरूको समान राय आएसँगै अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढाउन प्रहरीलाई दबाब परेको छ । गृहमन्त्री लामिछानेले सहकारी ठगीको अनुसन्धानमा प्रभाव पारेको विषयमा दुवै न्यायाधीश एकमत छन् । ‘उपप्रधान तथा गृहमन्त्री रहेको र निजअन्तर्गत नै नेपाल प्रहरी रहेको तथा नेपाल प्रहरीले जाहेरी दर्ता र अनुसन्धान गर्ने हुँदा प्रभावमा पर्न सक्ने तथ्य सार्वजनिक रूपमै संसद्को राज्य व्यवस्था समितिको उपस्थिति र अभिव्यक्तिबाट समेत मन्त्रीको प्रभाव आफू मातहतको नेपाल प्रहरीमा रहेको देखिन्छ,’ आदेशमा लेखिएको छ ।
गृहमन्त्री लामिछानेसमेत जोडिएको सहकारी ठगीमा जेठ १५ मा प्रतिनिधिसभाले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन विशेष समिति गठन गरेको विषयलाई पनि सर्वोच्चले आदेशमा उल्लेख गरेको छ । संसदीय समिति गठन भए पनि नियमित न्याय प्रणालीले सहकारी ठगीको अनुसन्धान गर्नबाट नरोक्ने दुवै न्यायाधीशको समान राय छ । ‘यो (संसदीय समिति) अत्यन्त राजनीतिक प्रकृतिको संयन्त्र र नीतिगत सुझाव दिने प्रकृतिको समिति हुँदा यो समिति गठन हुनुको अर्थ नियमित न्याय प्रणाली निलम्बित हुने वा अवरुद्ध हुने भन्ने अर्थमा बुझ्न मिल्ने देखिएन,’ न्यायाधीश मल्लको राय छ । यो विषयमा न्यायाधीश सुवेदीको राय छ, ‘संसदीय समितिले स्वच्छता निष्पक्षता कायम गरी सर्वसाधारणलाई न्यायको प्रत्याभूति दिलाउने कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने भएबाट त्यस्तो संसदीय समिति गठन भएको सम्म कारणले कसुरजन्य कार्यको अनुसन्धान तहकिकात नै गरिरहनुपर्ने अवस्था हुँदैन भन्न मिल्दैन ।’
लामिछानेविरुद्ध कास्की, चितवन र रूपन्देही जिल्लाका प्रहरी कार्यालयमा जाहेरी नरहेको र अदालतमा मुद्दा विचाराधीन नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको औचित्य नभएको न्यायाधीशद्वयको राय छ । महान्यायाधिवक्ताको कार्यालयले जाहेरी अभियोग दर्ता रहे/नरहेको विषयमा जानकारी गराउन नसक्ने/नपाउने भन्न नसकिने अदालतको आदेशमा उल्लेख छ । उक्त पत्र बदर गरिनुपर्ने माग गरिएकामा इजलासले महान्यायाधिवक्ता कार्यालयबाट जानकारीका लागि पत्र भएको, कुनै निर्णय नभएकाले उत्प्रेषणको आदेशले बदर नहुने आदेशमा उल्लेख छ ।
यद्यपि न्यायाधीश सुवेदीले भने महान्यायाधिवक्ताको कार्यालयले लामिछानेले कुन कानुनी आधारमा सूचना मागेका हुन् र कुन कानुनमा टेकेर कार्यालयले जानकारी दिएको हो भन्ने पत्रबाट नखुलेको राय लेखेकी छन् । ‘संवैधानिक व्यवस्था, कानुनी प्रावधानहरूको वैधानिक अपेक्षाको बर्खिलाप हुने गरी सूचना माग गर्ने र दिने कार्य भए गरेको अवस्था देखिन आयो,’ न्यायाधीश सुवेदीको फरक राय छ । उक्त पत्र इजलासले बदर गर्नु औचित्यपूर्ण नहुनेमा भने उनको न्यायाधीश मल्लसँग उनको राय मिलेको छ ।
आफ्नो स्वार्थ बाझिने विषयमा निर्देशन नदिन पनि गृहमन्त्रीलाई निर्देशन दिँदै सर्वोच्चको रायमा ‘स्वार्थ बाझिएको विषयमा निर्णय लिन नहुने सुशासन व्यवस्था तथा सञ्चालन ऐन, २०६४’ को व्यवस्था स्मरण गराएको हो । भनिएको छ, ‘सर्वमान्यतामा प्रतिकूल नहुने गरी सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र अन्तर्गत कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्ने व्यवस्था छ । स्वार्थ बाझिएमा निर्णय गर्न नहुने व्यवस्था छ ।’ त्यस्तै प्रचलित कानुनमा मन्त्रीहरूको स्वार्थ बाझिने विषयसम्बन्धी स्पष्ट कानुन नहुँदा आवश्यक कानुन निर्माणको पहल गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिनुपर्ने पनि उनीहरूको समान राय छ ।
बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा सार्दा लामिछाने उक्त कम्पनीका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक थिए । पोखरा महानगरपालिकाले तयार पारेको अध्ययन प्रतिवेदनमा लामिछानेले समेत ऋण लिएको उल्लेख छ भने बुटवलको सुप्रिम सहकारीबाट पनि लामिछानेसहितले ‘प्रक्रिया पूरा नगरी’ व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ । यद्यपि उनी गृहमन्त्री भएपछि अनुसन्धान अवरुद्ध भएको थियो भने रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोजनपत्रमा उनी संलग्न भएको अभियोगको विवरण खुलाए पनि प्रतिवादीको सूचीबाट उनको नाम गायब बनाइएको थियो ।

मुख्य पृष्ठ

एस अध्यक्षमा नेपाल, महासचिवमा भुसाल

- कान्तिपुर संवाददाता

(काठमाडौं)
एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । नयाँ विधानअनुसार सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन् । उपाध्यक्ष, उपमहासचिव, सचिवसहित बाँकी १९ पदाधिकारी र केन्द्रीय सदस्य चयन भने शुक्रबार हुने भएको छ ।
काठमाडौंमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले उनीहरूलाई सर्वसम्मत चयन गरेको हो । एमालेबाट २०७८ भदौमा अलग भएपछि पहिलो पटक भएको महाधिवेशनबाट मुख्य तीन पदमा पुरानै नेतृत्वले निरन्तरता पाएको छ । तर, महाधिवेशन प्रतिनिधिले ‘महाधिवेशनबाट सर्वसम्मत मुख्य नेतृत्व चयन गर्न’ सुझाव दिएका थिए । अन्य पदमा पनि छलफल भइरहेको नेता वेदुराम भुसालले बताए ।
पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए । तर नेपालले महाधिवेशनबाट पुनः नेतृत्व
लिएर पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन महासचिवसहित वरिष्ठ नेताको विचारलाई ध्यानमा
राख्ने प्रतिबद्धता जनाएपछि सर्वसम्मत भएको समाजवादीका एक नेताले बताए ।
‘खासगरी वामपन्थी विचार–धारालाई पृष्ठपोषण गर्ने गरी अघि बढ्ने प्रतिबद्धतापछि सर्वसम्मत सम्भव भएको हो,’ ती नेताले भने, ‘महासचिव भुसालले सत्ता व्यक्तिलाई केन्द्रित गरी कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने भन्दै समाजवादी विचार र कार्यक्रममा जोड दिँदै आउनुभएको थियो । उहाँ र सम्मानित नेता खनालको कार्यदिशा समेत पारित भइसकेको छ ।’
उपाध्यक्ष, उपमहासचिव, सचिवसहित बाँकी १९ पदाधिकारी र केन्द्रीय सदस्यको चयन पनि महाधिवेशन प्रतिनिधिले नै गर्ने नेता राजेन्द्र राईले जानकारी दिए ।
‘अरू पदाधिकारी र केन्द्रीय सदस्यको चयन शुक्रबार हुनेछ,’ उनले भने ।

उनका अनुसार प्रतिनिधिहरूले केन्द्रीय कमिटीको आकार बढाउन माग गरेका छन् । ‘अहिलेको २९९ सदस्यीय केन्द्रीय कमिटीमा धेरै युवा साथी छुट्ने भएकाले आकार बढाउनुपर्ने दबाब छ,’ राईले भने, ‘त्यसबारे छलफल भइरहेको छ ।’
निर्वाचन गर्दा असमझदारी बढ्ने भएकाले प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएको पनि उनले बताए । ‘चुनाव गर्दा चित्त नबुझ्नेहरू जिम्मेवारीबाट बाहिरिने जोखिम हुने भएकाले सर्वसम्मत नेतृत्व चयन गर्ने दबाब छ,’ उनले भने, ‘केन्द्रीय कमिटीको आकार बढाउने सम्भावना पनि उत्तिकै छ ।’ मुख्य नेतृत्वबाहेक अन्य पदमा प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्दै आएकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष मण्डलका प्रमुख खनालले महाधिवेशन प्रतिनिधिलाई नेतृत्व चयन नहुँदै घर पठाएको भन्दै असन्तुष्टि जनाएकी छन् । ‘अध्यक्ष र महासचिव सर्वसम्मत गर्न मसमेतको प्रयास सफल भएको हो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘तर अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्‍यौं/भयो भनेर प्रतिनिधिलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी, को सदस्य, खोइ त खनाल कमरेड ?’
प्रचार विभाग उपप्रमुख एवं नेता दामोदर अर्यालले मुख्य नेतृत्वमा पुस्तान्तरण माग भए पनि पाका नेताको अनुभव र युवाको जोसलाई संयोजन गरी केन्द्रीय कमिटी बन्ने बताए । ‘मुख्य नेतृत्वमा युवा आउनुपर्छ भन्ने माग थियो । तर सबै अवस्था हेर्दा पाका र युवाको संयोजनसहित नेतृत्व चयन हुँदै छ,’ उनले भने ।

मुख्य पृष्ठ

दाहालको दाउपेचमा रास्वपाको साथ

- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
बहुमत गुमाइसकेको र वैकल्पिक गठबन्धनको मार्गचित्र प्रस्ट भइसकेको अवस्थामा समेत प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने अडान लिएका छन् । सरकारको मुख्य साझेदार एमाले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिइसकेको छ भनेलगत्तै सरकार छाड्ने उद्घोष गरेको अर्को सत्ता घटक रास्वपाका मन्त्रीहरू बालुवाटार पुगेपछि आफ्नै निर्णयबाट पछि हटेका छन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउन रास्वपा अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पार्टीका दुई उपसभापति र संसदीय दलका प्रमुख सचेतकलाई लिएर बिहीबार बिहान बालुवाटार पुगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीसँग भएको छलफलपछि लामिछाने तत्काल सरकार नछाड्ने निचोडमा पुगेका हुन् । प्रधानमन्त्रीले एकीकृत समाजवादीलगायत सरकारमा सहभागी अन्य दललाई समेत विश्वासको मत लिने बेलासम्म समर्थन फिर्ता नलिन आग्रह गरिरहेका छन् ।

कांग्रेस र एमालेबीच आलोपालो प्रधानमन्त्रीलगायतका विषयमा ७ बुँदे समझदारी भएको थियो । दुई दलबीच समझदारी भएको तर हस्ताक्षर भइनसकेको अवस्थामा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैलाई समानान्तर रूपमा प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । कांग्रेस र एमालेबीच समझदारी बनेको खबर बाहिरिएलगत्तै देउवालाई पार्टीका उपमहासचिव जनार्दन शर्मामार्फत प्रस्ताव पुर्‍याएका थिए भने ओलीसँग आफैंले वार्ता गरेका थिए ।
‘कांग्रेस र माओवादीको गठबन्धनमा तपार्इं प्रधानमन्त्री बन्नुहोस् भनेर जनार्दन शर्माले प्रस्ताव ल्याउनुभएको हो, हाम्रो पार्टी सभापति प्रधानमन्त्री हुँदा शर्मा गृहमन्त्री भएकाले दाहालले सहजताका लागि उहाँलाई पठाएको हुनुपर्छ,’ कांग्रेसका एक नेताले भने, ‘तर उहाँले यस पटकलाई सरी, एमालेसँग सहमति भइसक्यो भनेर पठाउनुभो ।’ कांग्रेस र एमालेले आफूहरूबीच समझदारी भइसकेको र सरकारमा सहभागी ठूलो दल नै अलग भएर समर्थन फिर्ता लिइसकेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरिरहेका छन् । तर प्रधानमन्त्री दाहालले अझै पनि केही ‘उथलपुथल’ गर्न सकिन्छ कि भनेर लागिरहेको बताउँदै कांग्रेस र एमाले नेताहरूले अल्पमतमा रहेका प्रधानमन्त्रीलाई साथ दिएर नयाँ राजनीतिक दलले देखाएको सत्ता–तृष्णा उदेकलाग्दो भएको बताए ।
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच प्रधानमन्त्रीले तत्काल मार्ग प्रशस्त नगरेमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको छ । ‘बिहीबार दुई नेताबीच भएको वार्तामा प्रदेशको भागबन्डालगायत विषयमा समेत सैद्धान्तिक छलफल भएको छ,’ कांग्रेसका एक नेताले भने ।
माओवादी उपमहासचिव शर्माले संसद्मा विश्वासको मत सामना गर्दा अर्को गठबन्धन बन्ने सम्भावना देखेर प्रधानमन्त्रीले यो बाटो लिएको हुन सक्ने बताए । संसद्का दुई ठूला दल नै मिलिसकेपछि पनि कसरी प्रधानमन्त्रीले त्यस्तो राजनीतिक ‘स्पेस’ देख्नुभएको हो भन्ने प्रश्नमा शर्माले भने, ‘फेरि आफैं प्रधानमन्त्री हुन्छ भनेर होइन, त्यो सम्भव पनि छैन । तर विश्वासको मत लिँदा असफल भएपछि धारा ७६(३) मा जान्छ भन्ने हो । धारा ७६ (३) मा गएपछि नयाँ गठबन्धन बनाउन सकिएला कि भनेर हो ।’
प्रधानमन्त्रीलाई विश्वासको मत लिन संवैधानिक रूपमै ३० दिनको समयसीमा दिइएकाले त्यतिन्जेल कसैले अन्यथा लिन नमिल्ने पनि शर्माले बताए । अल्पमतमा परिसकेको प्रधानमन्त्रीले नैतिक र राजनीतिक रूपमा राजीनामा दिनुपर्ने होइन र भन्ने प्रश्नमा शर्माले थपे, ‘संविधानका पनि आ–आफ्ना व्याख्या छन् । अदालतका आफ्नो होला । संविधानमा एउटा होला । राष्ट्रपतिको के छ, थाह छैन । संविधानमा पनि सर्वसम्मतिको परिभाषा छैन । संवैधानिक रूपले एक महिना समय छँदै छ । केही भन्न मिल्दैन । नैतिक रूपमा के गर्ने भन्ने प्रधानमन्त्रीको कुरा हो ।’
तर कांग्रेस र एमाले नेताहरूले दाहालको यस्तो चाहना पूरा नहुने बताए । प्रधानमन्त्रीले अहिले संविधानको धारा ७६(२) अन्तर्गत नभएर धारा १०० को व्यवस्थाअनुसार विश्वासको मत लिने भएकाले धारा ७६(३) आकर्षित नहुने उनीहरूको भनाइ छ ।
एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री विश्वासको मतमा जाँदा र नजाँदा धारा ७६(२) अन्तर्गतको सरकार बनाउन कुनै बाधा नभएको बताए । प्रधानमन्त्रीले धारा ७६(२) अन्तर्गत प्रधानमन्त्री नियुक्तिलाई लिएर नभई धारा १००(२) को व्यवस्थाबमोजिम विश्वासको मत लिन खोजेकाले संविधानमा कुनै खालको जटिलता नहुने उनको भनाइ छ । संविधानको धारा १०० को उपदफा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने उल्लेख छ । दाहालले प्रधानमन्त्री नियुक्तिको चरणमा नभएर सत्ता साझेदार दल एमाले सरकारबाट अलग भई समर्थन फिर्ता लिएका कारण विश्वासको मत लिन खोजेका हुन् ।
‘संविधानको धारा ७६(२) को प्रक्रिया पहिल्यै पूरा भइसक्यो । अब हुने विश्वासको मत भनेको संविधानको धारा १०० अन्तर्गतको प्रक्रिया हो, नयाँ प्रक्रिया हो । संविधानको धारा ७६ को उपधारा १, २, ३, ४ र ५ मा जे कुरा लेखिएको छ त्यो प्रक्रियाभित्र विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यै प्रक्रिया गुज्रन्छ भन्ने जे तर्क गर्ने गरिया छ त्यो सत्य होइन,’ पोखरेलले भने, ‘एक पटक विश्वासको मत प्राप्त गरिसकेको सरकारले पुनः विश्वासको मत प्राप्त गर्ने प्रक्रिया हो र त्यो संविधानको धारा १०० अन्तर्गतको प्रक्रिया हो । त्यो प्रक्रियामा सरकारले विश्वासको मत पाएन भने पदमुक्त हुन्छ । पदमुक्त भएपछि फेरि संविधानको पुरानै प्रक्रिया फर्किन्छ । कुनै दलविशेषको बहुमत छ भने संविधानको धारा ७६ (१) अन्तर्गत र छैन भने एकभन्दा बढी दलहरू मिलेर सरकार बनाउने हो । त्यो प्रक्रिया पनि असफल भयो भने मात्रै संविधानको धारा ७६ (३) मा जाने हो ।’
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले संविधानको धारा ७६(२) अन्तर्गतको नभएर धारा १०० को व्यवस्थाअन्तर्गत विश्वासको मत लिन खोजेकाले दाहालले जति खेल्न खोजे पनि सम्भव नहुने बताए । ‘प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्नेभन्दा पनि राजनीतिमा अझै केही उथुलपुथल गर्न सकिन्छ कि भनेर विश्वासको मतको सामना गर्छु भन्नुभएको हुन सक्छ, तर यसले प्रधानमन्त्रीलाई राम्रो गर्दैन,’ लेखकले भने, ‘प्रधानमन्त्री सुझबुझ र परिपक्क नेता पनि हो । राजनीतिक कुरा राम्रोसँग बुझ्नुहुन्छ भन्ने हामीलाई लागेको छ ।’
यस्तै, आफूलाई पुराना दलभन्दा भिन्न हौं भन्ने भाष्य बनाउन खोजेको रास्वपा भने उमेरले मात्रै फरक रहेको लेखकले बताए । ‘रास्वपाले जुन निर्णय लिएको छ, त्यसले ऊ विचारमा नयाँ होइन, उमेरले मात्र हो भन्ने देखाएको छ,’ उनले भने । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने आफ्नो पार्टी लामो समयसम्म सरकारमा बस्न नचाहेको बताए । प्रधानमन्त्रीले विश्वासको मत लिने बेलासम्म राजीनामा नदिनुहोस् भनेकाले सत्ता घटकको हैसियतले प्रधानमन्त्रीलाई सम्मान गर्नका लागि मात्रै राजीनामा नदिएको बताए ।

 

Page 2
म्यागेजिन

'मंगल यात्रा’ को आशा जगाउने ‘स्टारसिप’

- स्वरूप आचार्य

(काठमाडौं)
अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले गत महिना नयाँ रकेटको सफल परीक्षण गर्‍यो । उक्त रकेटको पछिल्लो भाग सफलतापूर्वक मेक्सिकोको खाडीमा अवतरण गर्‍यो भने माथिल्लो भाग पनि पृथ्वीको वायुमण्डलबाट बाहिर
पुगेर बिनाठूलो नोक्सानी फर्किएर हिन्द महासागरमा खस्यो ।
‘स्टारसिप’ नाम दिइएको यानलाई ‘साँच्चिकै मंगलग्रहमा पुर्‍याउने’ जहाजका रूपमा हेरिएको छ । उनले भविष्यमा स्टारसिपमा सवार भएर रातो ग्रहमा बसोबास गर्न जानेहरूको कल्पना गरेका छन् ।
त्यो उद्देश्य प्राप्तिका लागि मस्कको स्पेसएक्स रकेट कम्पनीले ठूलो स्टारसिपको विकास गरिरहेको छ । स्पेसएक्सले विकास गरेको स्टारसिपको रकेट प्रणाली हालसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली ‘सुपर हेभी बुस्टर’ माथि राखेर अन्तरिक्षमा पठाउने उनको योजनाले गत महिना तुलनात्मक रूपमा ठूलो सफलता हात परेको हो ।
मस्कको कम्पनी स्पेसएक्सले गरेको स्टारसिपको यो चौथो परीक्षण उडान हो । यसअघि गरिएका तीनवटै परीक्षणको अन्तिम नतिजा रकेटको विस्फोटनमा टुंगिएको थियो । तर, मस्क र स्पेसएक्स भने फाल्कन सिरिजका रकेटझैं स्टारसिपलाई पनि पुनः प्रयोगयोग्य अन्तरिक्ष यान बनाउनका लागि तल्लीन छन् । नासाले २०२६ को अन्तिमतिर चन्द्रमामा पुनः अन्तरिक्षयात्री पठाउनका लागि गरिरहेको तयारी पनि स्टारसिपको विकाससँग जोडिएको छ । त्यसैले पनि स्टारसिप केवल मस्कको अद्भूत कल्पना मात्रै नभएर भविष्यको अन्तरिक्ष यात्राको नयाँ आयाम पनि हो ।
स्टारसिपको लक्ष्य भनेको एक पटकको उडानमा करिब एक सय जनालाई मंगलग्रहसम्मको यात्रा गराउनु रहेको छ । मस्कले २०१९ मा मंगल यात्राको कल्पना गर्दै स्टारसिपको विकास अघि बढाएका थिए । उनले २००२ मा स्थापना गरेको स्पेसएक्स कम्पनीले अहिले लगभग अमेरिकी सेनाका साथै नासाका सबै प्रकारका भूउपग्रहलाई अन्तरिक्षमा पठाउनुका साथै अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्षमा लैजाने र ल्याउने कामको जिम्मा पाइसकेको छ ।
यो अहिलेसम्म बनेको सबैभन्दा अग्लो रकेट हो । यसको उचाइ ३९७ फिट छ । जुन ‘स्ट्याच्यु अफ लिबर्टी’ भन्दा करिब ९० फिट अग्लो हो । यो रकेट बुस्टरमा अहिलेसम्मकै सबैभन्दा धेरै इन्जिनहरू रहेका छन् । सुपर हेभीमा स्पेसएक्सका ३३ शक्तिशाली र्‍याप्टर इन्जिनहरू जडान गरिएका छन् । ती इन्जिनहरूले जुन ६ मा बिहान ७ बजेर ५० मिनेट जाँदा दक्षिण टेक्सासको लन्चप्याडबाट स्टारसिपलाई पृथ्वीको सतहबाट उठाउँदा पूर्ण थ्रोटलमा करिब १ करोड ६७ लाख पाउन्ड (करिब ७५ लाख किलो) थ्रस्ट उत्पन्न गर्नसक्षम थियो ।
नासाको नयाँ स्पेस लन्च सिस्टम रकेटले नोभेम्बर २०२२ मा आफ्नो पहिलो उडान गर्दा अधिकतम थ्रस्ट ८८ लाख पाउन्ड (करिब ३९ लाख किलो) को थियो । जुन हालसम्मका लागि उच्च रेकर्ड हो । अपोलो कार्यक्रममा नासाका अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा लैजाने स्याट्रन पाँच रकेटको अधिकतम थ्रस्ट करिब ७६ लाख पाउन्ड (करिब ३४ लाख किलो) मात्रै थियो । मस्कको स्टारसिपको अझ अर्को प्रमुख विशेषता भनेको यो पूर्णरूपमा पुनः प्रयोग गर्न मिल्ने गरी विकास गरिएको छ । सुपर हेभी बुस्टरले स्पेसएक्सको सानो फाल्कन ९ रकेटहरूजस्तै पुनः पृथ्वीमा फर्किएर अवतरण गर्न सक्षम छ ।
स्टारसिप अवतरणका लागि पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्काई ड्राइभरजस्तै गरेर तल आउनेछ र अन्तिममा भने त्यसमा जडित इन्जिनहरूको सहायतामा यो ठाडो भएर नै अवतरण गर्न सक्षम छ । यसको सफल परीक्षण जुन ६ मा पनि देखिएको थियो । हेभी बुस्टर मेक्सिकोको खाडीमा सुरक्षित अवतरण गरेको थियो । स्टारसिप भने हिन्द महासागरमा ठाडो भएर नै अवतरण गरेको स्पेसएक्सले जनाएको थियो । यो परीक्षण उडान पूर्णरूपमा दोषरहित भने थिएन । कठिन प्राविधिक अवरोधहरू अझै पनि बाँकी नै छन् । तर, गत मार्चमा गरिएको परीक्षण उडानको क्रममा देखिएका समस्या भने यस पटक हल गर्न मस्कको कम्पनी स्पेसएक्स सफल भएको छ । यसले उनी निकट भविष्यमा नै ठूलो, सबैभन्दा शक्तिशाली र पुनःप्रयोग गर्न योग्य रकेट विकास गर्न सक्षम हुनेछन् भन्नेमा सबैलाई आशावादी भने बनाएको छ ।
गत अप्रिलमा गरिएको पहिलो परीक्षणका क्रममा रकेट आफ्नो उडानको निर्धारित क्षेत्रभन्दा बाहिर गएपछि त्यसलाई जानाजान नष्ट गर्नॅपरेको थियो । त्यसको नतिजाबाट पाठ सिक्दै कम्पनीले ‘ब्रेक–इट, देन फिक्स–इट’ दृष्टिकोणलाई रकेट इन्जिनियरिङमा आत्मसात गरेको थियो । ‘उनीहरूले हामीले सोचेभन्दा धेरै छिटो प्रगति गर्न सक्ने क्षमता देखाउँदै छन्,’ अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स र एस्ट्रोनटिक्सका कार्यकारी निर्देशक डेनियल एल डम्बाचरले भने, ‘उनीहरूले एउटा समूह बनाएका छन् जसलाई थाहा छ कि उनीहरू के गर्दै छन् । त्यो समूह सिक्न इच्छुक छ, र महत्त्वपूर्ण रूपमा, विगतमा अड्किँदैन ।’
यदि स्टारसिपले बारम्बार उडान गर्न सक्ने भयो भने यसले परम्परागत रकेटलाई जेटलाइनर जस्तै बनाउनेछ । जसका कारण विश्वव्यापी अन्तरिक्ष प्रक्षेपण उद्योगमा अभूतपूर्व रूपान्तरण हुन्छ । यसमा यसै पनि स्पेसएक्स पहिले नै हाबी छ । स्पेसएक्सको सफल परीक्षण उडान नासाका अधिकारीहरूका लागि पनि उत्साहजनक छ । नासाले २०२६ को अन्तिमतिर ‘आर्टेमिस ३’ मिसनअन्तर्गत अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा पुर्‍याउनका लागि स्पेसएक्सकै भर परिरहेका छन् ।
नासाका प्रशासक बिल नेल्सनले मस्ककै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समामा उनलाई र कम्पनीलाई बधाई दिएका छन् । ‘हामी आर्टेमिसमार्फत चन्द्रमामा मानवता फर्काउन अर्को एक कदम नजिक छौं– त्यसपछि मंगल ग्रहलाई हेर्छौं,’ उनले लेखेका छन् । पृथ्वीबाट करिब २०९ किलोमिटर माथिको उचाइमा पुगेपछि, स्टारसिप माथिल्लो भागमा रहेको यान पूर्वयोजनाअनुसार नै पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । अन्तरिक्षयानमा रहेका क्यामेराहरूले यसको मुनि तातिरहेको ग्यासको जीवन्त चमक कैद गरेका थिए ।
लगभग ४८ किलोमिटरको उचाइमा आइपुग्दा स्पेसक्राफ्टको शीर्ष स्थान नजिकैको स्टेयरिङ
फ्ल्यापहरूमध्ये एकबाट टुक्राहरू छुट्टिन थाले तर
फ्ल्यापले भने काम गर्न जारी नै राख्यो । स्टारसिपबाट छुट्टिएका टुक्राले लागेर लेन्स फुट्दा क्यामेराको दृश्य भने अवरुद्ध भयो । स्टारसिपले हिन्द महासागरमा अवरतण नगरेसम्म वास्तविक–समयको तथ्यांक स्पेसएक्सकै स्टारलिंक इन्टरनेट उपग्रहहरूमार्फत कम्पनीको मुख्यालय क्लालिफोर्नियमा पठाउन जारी राख्यो । अन्तिम इन्जिन जलेर स्टारसिपलाई अवतरण गर्नॅ अघि ठाडो स्थितिमा फ्लिप गर्नसमेत सक्षम रह्यो ।
‘दक्षिण टेक्सासबाट उडेको स्टारसिप पृथ्वीको अर्को छेउको पानीमा छ,’ स्पेसएक्स वेबकास्ट होस्टहरूमध्ये एक डान हुटले भने, ‘यो निकै महत्त्वपूर्ण दिन हो ।’ क्यालिफोर्नियामा मिसन नियन्त्रण कक्षबाहिर बसेर हेरिरहेका स्पेसएक्स कर्मचारीहरूको भीडले उक्त क्षणमा कुनै उत्सवजस्तै गरेर खुसी मनाएका थिए । ‘धेरै टाइलहरू छुट्टिए पनि र फ्ल्याप क्षतिग्रस्त भए पनि स्टारसिपले समुद्रमा निकै सुस्त रूपमा अवतरण गर्‍यो,’ मस्कले एक्समा लेखेका थिए ।
क्षतिग्रस्त फ्ल्याप र ताप–प्रतिरोधी टाइलहरूमा देखिएको समस्याले स्टारसिपमा अझै पनि केही महत्त्वपूर्ण स्तरवृद्धिहरू आवश्यक छन् भन्ने संकेत गर्दछ । अन्यथा, स्टारसिपलाई पनि स्पेससटलहरूजस्तै, प्रत्येक उडानपछि व्यापक नवीकरण आवश्यक पर्थ्यो । ‘तर यो सबै ठीक छ,’ अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स र एस्ट्रोनटिक्सका कार्यकारी निर्देशक डुम्बाचेरले भने, ‘यो सही दिशामा एक कदम हो र त्यसतर्फ धेरै कदम चाल्नुपर्छ ।’
उडानका पहिलो चरणमा रकेटको विशाल ‘सुपर हेभी बुस्टर’ ले दक्षतापूर्वक केही गतिविधि पनि गर्‍यो जसले गर्दा भविष्यमा यसलाई प्रक्षेपण साइटमा नै फिर्ता लैजान सकिने संकेत दिएको छ । यसले मेक्सिकोको खाडीमा कुशलतापूर्वक अवतरण गर्‍यो । यसभन्दा अघि परीक्षण गरिएका तीनवटै उडान विस्फोटनमा समाप्त भएका थिए । केही साताअघि सफल प्रक्षेपण पूर्वाभ्यासपछि, मस्कले एक्समा यो उडानको प्राथमिक लक्ष्य भनेको स्टारसिपलाई अधिकतम उचाइमा पुर्‍याएर पुनः प्रवेश गराउँदा अधिकतम तापबाट निकाल्ने’ हुनेछ । अर्को शब्दमा भन्नुपर्दा, उनी अत्याधिक तापका कारण यान जलेको हेर्न चाहँदैनन् । जसमा स्पेसएक्स र मस्क दुवै सफल भएका छन् । –एजेन्सीहरूको सहयोगमा

म्यागेजिन

विनाशकारी तुफानको अध्ययन गर्न समुद्रमा ड्रोन तैनाथ

- कान्तिपुर संवाददाता

एजेन्सी– ओटिस तुफान सन् २०२३ अक्टोबर २५ मा दक्षिण मेक्सिकोको समुद्री तटमा देखापरेको थियो, जसले प्रतिघण्टा १६५ माइलको गतिमा केही सहरमा क्षति पुर्‍यायो । यो समुद्री तुफानका कारण कम्तीमा २७ जनाको मृत्यु भयो भने मेक्सिकोको पर्यटकीय तथा बन्दरगाह सहर आकापुल्कोमा पनि ठूलो क्षति पुग्यो ।
यूएस नेसनल ओसियानिक एन्ड एट्मोसफेरिक एडमिनिस्ट्रेसन (एनओएए) का अनुसार ओटिस खतरनाक लहर र हुरीको सम्मिश्रण भएको तुफान थियो । यसले अचानक बाढी र भूस्खलनको जोखिम रहेको पनि एनओएएले चेतावनी दिएको थियो । नेसनल हरिकेन सेन्टरका अनुसार मेक्सिकोको उक्त क्षेत्रमा यस किसिमको तीव्र तुफानको यसअघि रेकर्ड थिएन ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा समुद्री तुफानको श्रेणी बढ्दै गएर चारदेखि पाँच तहसम्म (जुन अत्यन्त विनाशकारी हुन्छ) पुग्न थालेको छ । बेलायतको युनिभर्सिटी अफ रिडिङका अनुसन्धानकर्ताले सन् २०२२ मा गरेको अध्ययनअनुसार समुद्रमा बढ्दै गएको तापमानका कारण तुफान एक दिनमा नै शक्तिशाली र विनाशकारीमा परिवर्तन हुँदै गएका छन् ।
यसबारे अध्ययनका लागि ड्रोन निर्माण गर्न एनओएएले हालै समुद्री ड्रोन बनाउने अमेरिकी डेटा कम्पनी सेलड्रोनसँग एउटा सम्झौता गरेको छ । सम्झौताअनुसार त्यस्तो ड्रोनले विनाशकारी तुफानमा विकसित भइरहेको तीव्रता, लहरको जानकारी लिएर त्यसलाई सामना गर्न उपकरण बनाउन सकियोस् ।
सेल–ड्रोनले समुद्री वातावरणको डेटा संकलन गर्दै आएको छ, ती डेटालाई वैज्ञानिकहरूले विश्लेषण गर्दै आएका छन् । सेलड्रोनकी निर्देशक जुलिया पाक्सटोनका अनुसार सेल–ड्रोन हावाको माध्यमले सञ्चालन हुन्छ । जुन ड्रोनहरू ७, १० र २० मिटरसम्म लामो हुन्छन् ।
यसले संकलन गर्ने विवरणले वैज्ञानिकहरूलाई समुद्री तुफानको ट्र्याक गर्न, बाटो पत्ता लगाउन र यसमा हुने परिवर्तन हुनेबारे जानकारी पाउन सहज हुन्छ । समुद्रको सतहदेखि केही तलसम्मको भागको हावाको चाप पनि सेल–ड्रोनले रेकर्ड राख्ने गरेको छ ।
सन् २०२१ यता समुद्री विवरणका लागि सेलड्रोन प्रयोग थालिएको हो । सन् २०२३ मा पश्चिम एट्लान्टिक, क्यारेबियन र मेक्सिकोको खाडीमा १२ सेल–ड्रोन तैनाथ गरिएको छ । विनाशकारी बन्दै गएको समुद्री तुफानबारेको विवरण राख्न र निगरानी गर्न पद्धति उपयुक्त भएको वैज्ञानिकहरूको विश्लेषण छ ।

Page 3
समाचार

सहकारी अनुसन्धानबारे बुझ्न संसदीय समितिले बोलायो गृहसचिव र आईजीपी

- कान्तिपुर संवाददाता

(काठमाडौं)
सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले छानबिनको दायरामा परेका सहकारीको अवस्था र तिनीहरूमाथि जारी अनुसन्धानका बारेमा बुझ्न गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरसहितका सुरक्षा अधिकारीलाई छलफलका लागि समितिमा डाकेको छ । छानबिनको दायरामा ल्याइएका सहकारीको अवस्था र देशभर प्रहरी कार्यालयमा यसबारे भइरहेको अनुसन्धान अवस्थालगायत विषयमा बुझ्न समितिले गृहसचिव अर्याल, प्रहरी महानिरीक्षक कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवाली र अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङलाई शुक्रबार समितिको कार्यालयमा बोलाएको हो । त्यस्तै समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई पनि उपस्थित हुन समितिले निर्देशन दिएको छ ।
संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले छानबिनको दायरामा आएका सहकारीबारे विवरण बुझ्ने क्रममा गृहसचिव र प्रहरी महानिरीक्षकसहितका सुरक्षा अधिकारीलाई बोलाइएको बताए । ‘संसदीय छानबिन समिति अझै सूचना/विवरण संकलन गर्ने, सम्बन्धित निकायका अधिकारी र विज्ञका धारणा/सुझाव लिने/बुझ्ने क्रममै छ,’ उनले भने, ‘यही क्रममा बिहीबारको समिति बैठकले गृहसचिव, प्रहरी महानिरीक्षकसहितका सुरक्षा अधिकारीलाई डाकेर विवरण बुझ्ने, उहाँहरूका कुरा सुन्ने र जानकारी लिने निर्णय गरेको हो ।’ विभिन्न जिल्लामा गोर्खा मिडिया नेटवर्क र अरू सहकारीका केही मुद्दा सीआईबीले हेरिरहेको छ । कास्की, चितवन काठमाडौंलगायत थुप्रै जिल्लामा छानबिनको दायरामा रहेका सहकारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यी विषयमा पनि समितिले जानकारी लिन लागेको सभापति थापाले बताए ।
२०८० चैत ११ मा राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक कुँवरसहितका अधिकारीलाई बोलाइएको थियो । सहकारी ठगीबारे गृहमन्त्रीसहितको संलग्नताबारे बैठकमा विषय उठेको थियो । त्यसको जवाफमा प्रहरी महानिरीक्षक कुँवरले लामिछानेविरुद्ध आरोप पुष्टि हुने कुनै आधार नदेखिएको भन्दै बचाउ गरेका थिए । आईजीपीको उक्त अभिव्यक्तिको जनस्तरबाट समेत विरोध भएको थियो । समितिले भने आरोप लागेका व्यक्ति तथा संस्थाहरूबारेको तथ्य/प्रमाण बुझ्ने काम जारी रहेको जनाएको छ ।
समितिले बिहीबार महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको थियो । त्यस क्रममा महालेखाले सहकारीको रकम दुरुपयोग र यसको नियमनबारे औंल्याएका विषय, सहकारीको सम्पत्ति अपचलन गरी शुद्धीकरण हुने गरेको तथा सहकारीमाथि कमजोर नियमन हुने गरेका लगायत विषयमा समितिले सम्बद्ध अधिकारीहरूबाट जानकारी र धारणा माग गरेको थियो ।
गोरखा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं हाल उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका व्यक्ति सहकारी ठगी प्रकरणमा मुछिएपछि सदनदेखि सडकसम्म यो विषयको अनुसन्धान हुनुपर्ने माग उठेको थियो । तर, लामिछाने सहकारी ठगीमा संलग्न नरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमै प्रतिरक्षा गरेका थिए । स्वयं प्रहरी प्रशासनको तालुक निकाय गृह मन्त्रालयकै नेतृत्वमा रहेका लामिछानेले प्रहरीलाई दबाब र प्रभावमा राखी आफूविरुद्ध अनुसन्धान गर्न नदिने प्रपञ्च रचेका थिए । त्यसपछि यस विषयलाई लिएर सडक आन्दोलन मात्रै भएन, लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने माग सदनमा पनि चर्को ढंगले उठेको थियो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले लामिछानेमाथि अनुसन्धान नभएसम्म सदन अवरुद्ध गर्ने अडान कायम राखेपछि गत जेठ १५ मा सहकारीको बचत अपचलन भएका २९ वटा सहकारी केन्द्रित भएर छानबिन गर्न तीन महिनाको समय दिएर थापाको नेतृत्वमा ७ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । समितिमा सरिता भुसाल, ईश्वरी न्यौपाने, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल र ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिलाई ‘सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने’ कार्यदेश तोकिएको छ । गृहमन्त्री लामिछाने मुछिएको गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्नेलगायत विषय पनि समितिको कार्यादेशमै छ । समितिले हालसम्म नौवटा बैठक राखेर सहकारीका कारोबार छानबिन गर्नुका साथै विभिन्न निकाय का पदाधिकारी/सदस्य तथा विज्ञहरूबाट सुझाव संकलन गरिरहेको छ ।
समिति सभापति थापाले सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने सन्दर्भमा सहकारी विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुझावहरू दिएको बताए । उनले कतिपय विषयमा सोचेभन्दा फरक तस्बिर देखापरेको भन्दै यसलाई अझ व्यवस्थित गर्नुपर्ने अवस्था रहेको पनि बताए ।

समाचार

भोलि विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

- कान्तिपुर संवाददाता


धनुषा (कास)– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिने भएका छन् । जनमत पार्टीका नेता सिंह गत जेठ २५ मा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । शनिबार बिहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले सूचना जारी गरेको छ । केन्द्रमा एमाले–माओवादीको गठबन्धन भत्किए पनि उनीहरूकै समर्थनमा मुख्यमन्त्री बनेका सिंहले दुवै दलबाट विश्वासको मत पाउने जनाएका छन् ।

समाचार

लुम्बिनी र सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले

- कान्तिपुर संवाददाता

(दाङ/धनगढी)
केन्द्रमा कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा सहमति भएसँगै प्रदेश सरकारहरू फेरिने क्रम फेरि सुरु भएको छ । बुधबार संघीय सरकारबाट बाहिरिएको एमालेले बिहीबार
लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन लगाएको हो ।
सुदूरपश्चिम एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र तीन मन्त्रीलाई राजीनामा दिन लगाएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र एक स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ मा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले बाहिरिएपछि हाल प्रदेशसभामा पेस भएको बजेट अन्योलमा परेको छ । अब बजेट पारित नहुने देखिएको पूर्वआर्थिक मामिलामन्त्री झपट बोहराले बताए । ‘अब अध्यादेश, पूरक या पेस्की बजेट ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘प्रदेशसभा चलिरहेकाले अध्यादेश ल्याउन सकिने अवस्था छैन । पूरक बजेट ल्याउने सम्भावना पनि छैन । तसर्थ, साउन १ मा पेस्की बजेट ल्याउनुपर्ने हुन्छ ।’ तर केही दिनभित्र मुख्यमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठन हुन सके नयाँ सरकारले असार मसान्तभित्रै संशोधित बजेट ल्याउन सक्ने उनको भनाइ छ । सोडारी नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट प्रदेशसभामा पेस गरेको थियो । बजेट पेस भएयता प्रदेशसभा बैठक बस्न सकेको छैन ।
यता लुम्बिनीमा एमालेका ५ मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि माओवादीका मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले संसदीय दलका नेता लीला गिरीले पनि प्रदेशका सन्दर्भमा कसरी अघि बढ्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्देशन नआएको बताए । ‘कांग्रेस संसदीय दलका नेता पनि काठमाडौंतिरै भएकाले थप छलफल हुन पाएको छैन,’ उनले भने । तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले मन्त्रीहरूले राजीनामा दिएको र सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले बताए । मुख्यमन्त्री महराले साउन ७ भित्र विश्वासको मत लिनैपर्ने अवस्था छ ।
लुम्बिनीमा सरकारलाई समर्थन गरेको जसपा नेपाल टुक्रिएपछि प्रदेशसभा सदस्य अम्बिका काफ्लेले असार ९ मा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी थिइन् । लुम्बिनीमा जसपाका ३ सांसदमध्ये २ जनाले सरकारलाई समर्थन गरेका छन् । जसपा नेपाल (उपेन्द्र यादव समूह) तर्फ लागेकी काफ्लेले समर्थन फिर्ता लिएकी हुन् । आफूहरू सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री महराले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।

Page 4
सम्पादकीय

राजनीतिक धरातल भासियो, प्रधानमन्त्री राजीनामा देऊ

प्रतिनिधिसभाका ठूला दुई दल कांग्रेस र एमाले मिलेर सत्ता सहयात्रा गर्ने समझदारीमा हस्ताक्षर गरेपछि बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको बहिर्गमन प्रतीक्षाको विषय बनेको छ । दुवै दलले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरिसकेका छन् भने सत्ताको प्रमुख दल एमालेले सबै मन्त्रीलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । हुन त संवैधानिक रूपमा उनले आफ्नो एक महिना लम्ब्याउन सक्छन् । प्रधानमन्त्रीको पद कानुनी त्यान्द्रोमा झुन्डिने उपक्रम होइन, नैतिक र राजनीतिक धरातलमा उभिने प्राधिकार हो । अहिले २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको दुईतिहाइभन्दा बढी मत विपक्षमा पुगिसकेपछि प्रधानमन्त्रीको राजनीतिक धरातल भासिएको छ । माओवादी (३२) र रास्वपा (२१) को स्पष्ट मात्र अहिले उनको साथमा छ । उनले राष्ट्रका नाममा सम्बोधन गरेर सत्ता हस्तान्तरणको मार्गप्रशस्त गर्नुपर्छ । जाँदाजाँदै उनले विवेक प्रदर्शन गरे भने मात्र भोलि प्रतिपक्षी नेताका रूपमा उनको आवाजले नैतिक शक्ति प्राप्त गर्नेछ ।
प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिने आफ्नो संवैधानिक अधिकार प्रयोग गर्ने सन्देश दिएका छन् । यो ३० दिनमा उनले सुशासन, स्थिरता र समृद्धिका लागि केही कसर गर्न बाँकी छ भन्ने भ्रम उनलाई पनि छैन । तर, उनी जानाजान अस्थिरता सिर्जना गर्ने अभीष्ट लिएर पद लम्ब्याउन खोजेका देखिन्छन् । राज्य शक्तिको केन्द्रमा बसेर अस्थिरता निम्त्याउने खेल हुन्छ भने प्रधानमन्त्रीको दिनदिन र छिनछिन पनि देशका लागि भारी हुन्छ । आफ्नो पद लम्ब्याउन उनले जस्तो पनि दाउ खेल्न सक्छन् भन्ने पछिल्लो डेढ वर्षमा थप छर्लंग पारिसकेका छन् । उनी अझै पनि त्यस्ता खेलकुदमा लाग्न सक्छन् तर त्यसका लागि प्रधानमन्त्री पद, सिंहदरबार, बालुवाटार र समग्र राज्य संयन्त्रको मञ्च र पहुँच दुरुपयोग गर्न मिल्दैन । उनले जे–जस्तो शैलीको राजनीति गर्ने हो, त्यो अब सडक वा सदनबाट गर्ने हो । आफूलाई प्राप्त अधिकार मात्र प्रयोग गर्न वाञ्छनीय हुन्छ ।
प्रधानमन्त्री दाहालले आफ्नो पद जोगाउने राजनीतिक आधार देखिएको छैन । कांग्रेस वा एमालेको साथबिना उनका सम्भावित सबै दाउ निष्प्रभावी बन्नेछन् । एमालेले त ‘दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन’ प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराइसकेको छ । कांग्रेसले पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत नयाँ सत्ता सहमतिलाई स्वागत गर्दै ‘नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न’ भनिसकेको छ । यस्तो अवस्थामा दाहालले नेपथ्यबाट कुनै मोड दिन सकिन्छ कि भनेर पदावधि लम्ब्याउन खोजेका हुन्, उनको छविअनुसार यो खेल नौलो नभए पनि देशका लागि भने अर्को धोका हो । आफ्नो पक्षमा बहुमतका लागि पुग–नपुग सिट संख्या भएको भए, थप एक–दुई दलको विश्वास जुटाउन सक्दा पद सुनिश्चित हुने अवस्था रहेको भए उनले अपनाउने रणनीतिको अर्थ रहन्थ्यो । तर, प्रतिनिधिसभामा न्यून सिट संख्या रहेका तेस्रो र चौथो ठूलो दल मिलेर राजनीतिमा सनसनी मच्याउन खोज्नु दुवै दल र लोकतन्त्रका लागि हानिकारक छ ।
यति बेला मुलुकले दाहाललाई सुम्पिएको र उनले गर्छन् कि भनेर आशा गरिएको त्यस्तो कुनै कार्यभार बाँकी छैन । ‘सेनापति प्रकरण’ का कारण २०६६ वैशाखमा सरकार छाड्नुपर्दा उनले तत्कालीन राष्ट्रपतिबाट चालिएको कदमलाई ‘द्वैध सत्ता’ का रूपमा टिप्पणी गर्दै ‘नैतिकताका आधार’ मा तत्कालै राजीनामा दिएका थिए । दोस्रो पटक २०७४ जेठमा राजीनामा दिँदा उनले सत्ता साझेदार दलप्रतिको पूर्वसहमतिमा इमानदारी देखाएका थिए । यस पटक भने उनकै भाषामा ‘करिब–करिब अन्तिम मौका’ पनि गुमेको ठानेर उनी अरू प्रपञ्चमा लागेका छन् ।
यति बेला चर्चा गर्नुपर्ने प्रसंग अर्को पनि छ । तत्काललाई आफूहरूको सहकार्यबाट मुलुकलाई स्थिरताको अनुभूति दिने र दीर्घकालमा स्थिर सरकार सुनिश्चित गर्न संविधानसमेत संशोधन गर्ने गरी कांग्रेस र एमालेले सहकार्य गर्ने भनेका छन् । तर, उनीहरूको लिखित सहमति सार्वजनिक नहुँदा अन्योल पनि छ । दुई ठूला दलले मुलुकलाई नयाँ मार्गमा अघि बढाउने दाबी गरिरहेका बखत पारदर्शिता अनिवार्य छ । अँध्यारा कोठामा भएका विगतका सहमतिले नै समग्र देशलाई अन्धकारमा पारेका हुन् । अब सुधारको यात्रा सुरु भएको हो भने त्यसको सुरुवात नै पारदर्शिता र जवाफदेहिताबाट मात्र सुनिश्चित हुन सक्छ । सत्ता सहयात्राको खुला घोषणा गरेका दलहरूले त्यसको आधार गोप्य राख्दा भविष्यको प्रतिबद्धता स्वतः नाजुक हुनेछ । प्रमुख दुई दलले कोर्न खोजेको मार्गचित्रमा सार्वजनिकस्तरमै बहस र संवाद हुँदा नै लोकतान्त्रिक मार्ग फराकिलो हुन्छ । यो शैलीको सुरुवात सुरुबाटै हुनुपर्छ ।

सम्पादकलाई चिठी

संविधान संशोधन केमा गर्ने ?


पारिवारिक, आर्थिक, न्यायिक, ज्ञात–अज्ञात जेसुकै कारणले भए पनि अहिले देशका दुई ठूला दलहरू मिलेर सरकार बनाउने अवस्था आउँदा हामीले देशमा स्थायित्व आउने आधारमा सकारात्मक नै मान्नुपर्ने हुन्छ । अझ मिडियामा आएजस्तो ती दलहरूले साँच्चै संविधान संशोधन नै गर्ने सम्झौता गरेका हुन् भने त यो कदम झनै स्वागतयोग्य नै मान्नुपर्छ ।
वास्तवमा देशी–विदेशी, राजनीतिक, कूटनीतिक, व्यापारिक, अनेक निकायहरूको स्वार्थ–आग्रह मिसिएर बनेको वर्तमान संविधान ‘ऊँट’ जस्तै भएको छ, कुनै पनि सिद्धान्तको जगमा नअडिएको अस्तव्यस्त छ । यो संविधानको संशोधन अपरिहार्य छ । त्यसैले एक गैरराजनीतिक स्वतन्त्र प्राज्ञका रूपमा संविधान संशोधनका लागि आफूलाई लागेको सुझाव यहाँ सम्प्रेषण गर्न चाहन्छु–
१. हाम्रो जस्तो मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै उपयुक्त हो । त्यो हुन नसकेमा या आलंकारिक राष्ट्रपति नै राख्ने हो भने पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणामा जानुपर्छ ।
२. सांसदहरूलाई विधायिकी अधिकार मात्र दिई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई गैरसांसद विज्ञहरूको स्वतन्त्र अनि सानो–छरितो मन्त्रिपरिषद् (संख्या तोकिदिए नै हुन्छ) गठन गर्ने अधिकार दिनुपर्छ । यसरी निर्वाचित प्रधानमन्त्रीलाई पूरा ५ वर्ष काम गर्न दिनुपर्छ, महाभियोग लागेको अवस्थामा बाहेक हटाउन नमिल्ने बनाउनुपर्छ ।
३. कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काम एकै व्यक्ति वा निकायलाई कदापि दिनु हँॅुदैन । शक्ति पृथकीकरणको सिद्धान्त व्यावहारिक रूपमा नै स्थापित गर्नुपर्छ । महाभियोगलाई हलुको विषय बनाउनु हँॅुदैन ।
४. प्रतिनिधिसभालाई निर्वाचित सांसदहरू मात्र रहने, अनि राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउनुपर्छ । राष्ट्रिय सभामा गैरराजनीतिक विषय–विज्ञलाई दलहरूले स्थान दिनुपर्छ । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्छ ।
५. प्रदेशको संरचना आवश्यक छैन । जिल्लाको संरचना पनि हटाउनुपर्छ ।
६. स्थानीय तहलाई अझै बलियो बनाउनुपर्छ, यसलाई पूर्णतया गैरदलीय बनाउनुपर्छ ।
७. संसदीय सुनुवाइ गरी नियुक्ति गर्ने व्यवस्था पूर्णतया अव्यावहारिक अनि अनावश्यक छ ।
८. संविधानमा राज्यको धर्मका बारेमा उल्लेख गर्नु आवश्यक छैन, अहिलेको जस्तो अर्थ न बर्थको धर्मनिरपेक्षताको कुनै काम छैन ।
– अजय रिसाल, धुलिखेल

सम्पादकलाई चिठी

सत्ता समीकरणको तरंग

 

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सोमबार मध्यरात सत्ता सहकार्यको सहमति भएको छ । डेढ वर्षमा तीन पटक गठबन्धन फेरेर ‘राजनीतिक हिरो’ बन्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल स्तब्ध बनेका छन् ।
बहुमत जुटाएर कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमति’ को सरकार बनाउन सहमत भएकाले त्यसमा साना दल समावेश हुने अवस्था देखिँदैन । संविधान संशोधनका क्रममा २०४७ सालको संविधान ब्युँताउने, धर्मनिरपेक्षता शब्द हटाउने, संघीय शासन प्रणालीका निकाय काँटछाँट गरी छ वर्षअघि स्थापित गाउँका सिंहदरबारको संख्या न्यून बनाउनेलगायत विषयमा सहमति भएको पनि सुनिन्छ । कति सत्य हो, चाँडै खुल्दै जाला । नयाँ दलीय समझदारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई तत्काल राजीनामा दिएर समृद्धिको मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । प्रचण्ड भने एक महिनाभित्र दलीय समर्थन जुटाउन लागिपर्ने अडानमा रहेका छन् । प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने ठूलो दल सरकारमा सहभागी हुन नमिल्ने भनी कराइरहे पनि कांग्रेस र एमाले सुन्ने अवस्थामा छैनन् । नेपालको विगत हेर्दा अहिलेसम्म प्रतिपक्षी दलको भूमिका निराशाजनक रहेको यथार्थ जगजाहेर छ । अब बन्ने सरकारमाथि सञ्चारकर्मीले औंला नठड्याउने हो भने शासक झनै अधिनायकवादी नबन्लान् भन्न सकिँदैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

सम्पादकलाई चिठी

जादुगरलाई अरूले जादु देखाइदिएपछि


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला सम्भवतः राजनीतिक जीवनकै कठिन मोडमा आइपुगेका छन् । आफूलाई राजनीतिको जादुगर ठान्ने प्रचण्ड यतिबेला आफैंलाई अरूले जादु देखाइदिएपछि रनभुल्लमा परेका छन् । आफू रहुन्जेल राजनीतिमा उथलपुथल भइरहने ठोकुवा गरेका प्रचण्डले पछिल्लो समयमा भएको राजनीतिक परिवर्तनलाई कुनै उथलपुथल पार्न सक्ने अवस्था देखिँदैन ।
कुनै अकल्पनीय परिवर्तन नआएसम्म उनले राजनीतिक माहोल आफ्नो पक्षमा पार्न सक्ने अवस्था देखिँदैन । कुनै न कुनै माध्यमबाट नेतृत्वमा आइरहनुपर्ने स्वभावका प्रचण्डलाई अब त्यो अवसर प्राप्त हुने कुनै संकेत देखिँदैन । आफ्नै कारण एकपछि अर्को
खुड्किला ओरालो लाग्दै गरेको अवस्थामा पुगेका प्रचण्ड र माओवादी केन्द्रलाई अहिलेको राजनीतिक परिवर्तनले निकै गहिरो चोट दिएको छ । अबका दिनमा सायदै कुनै पनि राजनीतिक दलले उनलाई विश्वास गरेर सहयात्राको हात मिलाउने छैनन्, राजनीतिमा कुनै कुराको पनि ग्यारेन्टी गर्न भने सकिँदैन । विगतका घटनाक्रमले नै राजनीतिमा कोही पनि दीर्घ शत्रु र मित्र हुँदैनन् भन्ने पुष्टि गरिसकेका छन् ।
एमालेको समर्थनमा सरकारको नेतृत्व गरिरहेका प्रचण्ड एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि अल्पमतमा परिसकेका छन् । संसद्मा विश्वासको मत लिए पनि या प्रधानमन्त्रीको पदबाट राजीनामा दिए पनि उनले अब प्रधानमन्त्रीको पद छाड्नै पर्ने देखिन्छ । तर उनी अझै पनि आफैं प्रधानमन्त्रीको कुर्सीमा टिकिरहन सकिन्छ कि या त आफ्नो दल सरकारमा सहभागी हुने अवसरको चाँजोपाँजो मिलाउन सकिन्छ कि भन्ने ध्याउन्नमै लागिरहेका छन् ।
शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा समाहित भएदेखि माओवादी पार्टीले भन्दा पनि प्रचण्डले निरन्तर सत्ताको लाभ लिइरहे, अझै पनि उनको त्यो आस जीवितै छ । तर राजनीतिमा होस् या व्यक्तिगत जीवनमा होस्, एकाध पटक छलेर सफल हुन सकिएला तर निरन्तरको झूटको खेतीले बारम्बार सफलता मिल्दैन भन्ने प्रमाण स्वयं प्रचण्ड नै बनेका छन् । पार्टीको नेतृत्वमा होस् या सत्ताको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा होस्, प्रचण्ड निरन्तर आफैं अग्रस्थानमा देखा पर्ने गरेका छन् । अब पार्टीको नेतृत्व गर्ने अवसर त उनले सक्रिय राजनीति नछाड्दासम्म नै जुटिरहने देखिन्छ, सत्ताको नेतृत्व भने उनका लागि यो नै अन्तिम हुन सक्छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

सम्पादकलाई चिठी

'कसैलाई माया गर्नु एउटा भूल गरें मैले’ समाचारमाfacebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

रमेश लेखकले संसद्मा भनेको कुरा याद आयो कि नाइँ ? ‘धोका दिन बाँकी कोही छैन, सबै धोका पाएका एकजुट भए भने तपाईंको हालत के होला ?’
– रमेश नौन्याल

पटक–पटक भएका छन् यस्ता भूल । पहिलो भूल, गिरिजाप्रसादलाई राष्ट्रपति बन्न रोक्नु । दोस्रो भूल, रुक्मांगद कटवाल काण्ड । पछिल्लो, कांग्रेसलाई धोका दिएर एमालेसँग गठबन्धन । अब यो अन्तिम भूल हुन सक्छ, भूल गर्ने मौका आउनुअगाडि नै पार्टी विसर्जन हुन सक्छ ।
– रमेश पौड्याल

प्रचण्डले देउवालाई लोभ्याउन सक्छन् । कांग्रेस र एमाले मिल्ने हो भने संसद्मा दुवै दललाई मुख्य–मुख्य मन्त्रालय बराबरी जसो चाहियो । कांग्र्रेस र माओवादी मिल्ने हो भने धेरैजसो मुख्य मन्त्रालय कांग्रेसले पाउँछ । यो हिसाबले सत्तामा टिक्न मात्रै भए नि बाहिर आएका हल्लालाई चिर्दै अझै उथलपुथल बनाउन सक्छन् प्रचण्डले ।
– राम बस्याल

जवाफ फर्काएस्
प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ–कहाँ पुर्‍याउँछ...
– बासु दाहाल

आफ्नो घर सिसाको बनाउने अनि अरूको घरमा ढुंगाले हान्ने भएपछि यस्तै हुन्छ । अरूले पनि हाने भने आफ्नो के हाल हुन्छ, ख्याल गर्नुपर्छ ।
– राजेन्द्र लामा

प्रधानमन्त्री हुनुभन्दा पहिला पनि एमालेलाई धोका दिएर कांग्रेससित जाँदा फत्तेमानको गीत नै गाएको भए राम्रो हुन्थो कि !
– जनक सापकोटा

२० दिनमा ३० वटा फाइल खोल्नुस्, १–२ सय जनालाई जेल हाल्नुस् । भ्रष्टाचारी बचाउन सडकमा आउलान्, सेना–पुलिस तपाईंको साथमा छन् । यति गर्न सक्नुहुन्न भने राजीनामा दिएर खरानी धस्नुस् । यो अन्तिम मौका हो ।
– याम थापा

संसद्मा विश्वासको मत नपाएर खिस्स पर्नुभन्दा राजीनामा दिनु उत्तम होला । हुन त पदलोलुप प्रचण्डमा यतिको नैतिकता कहाँ होला र ?
– नरेन थापा

ओलीलाई अदालतले बर्खास्त गर्दा बेइज्जत भएन, शेरबहादुरलाई ज्ञानेन्द्रले अक्षम भनेर बर्खास्त गर्दा बेइज्जत भएन । प्रचण्डले संविधानसम्मत संसद्मा विश्वासको मत लिन्छु भन्दा बेइज्जत हुने रे !
– जगन्नाथ पाठक

हजुरले सधैं अरूलाई धोका दिँदै आउनुभयो । आज फेरि त्यही धोका आफैं खानुभयो । त्यसैले आफ्नो कर्मको फल आफैं भोग्नुपर्छ । अब यसबाट पाठ सिकेर कोही कसैलाई धोका नदिनु होला ।
– भेषराज खत्री

दृष्टिकोण

विकास कसरी सम्भव हुन्छ ?

- लोकराज बराल

 

देश विकास कसरी होला भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । नेपालमा हालसम्म केही भएकै छैन भन्ने पनि धेरै छन् । देशको एक ठाउँबाट अर्को ठाउँ या जिल्ला जानलाई भारतको रेलमा कुस्ती खेल्दै आउजाउ गर्ने पनि हामीमध्येकै छौं । झापा वा सुदूरपश्चिमका जिल्लाबाट राजधानी आउन तीन दिनको कठिन यात्रा गर्नुपर्थ्यो । त्यसमा पनि कामको खोजीमा रहेका, ढाकर बोकेका नेपालीलाई भारतका रेलवे स्टेसनमा भरिभराउ भएको देखेकै हो । आज त्यस्तो अवस्था छैन र एकै दिनमा बस चढे काठमाडौं पुग्न सकिन्छ । अलिकति पैसा हुनेका लागि सबैभन्दा टाढा मानिएको हवाई बाटोमार्फत एक घण्टामा पुगिन्छ ।
अर्थात् नेपालमा हरेक क्षेत्रमा तीव्र रूपमा पूर्वाधार विकास भएको छ । सञ्चार क्षेत्रमा त विश्वस्तरीय विकास भएको छ । पहिले राणाकालमा काठमाडौं र अन्य जिल्लासित सम्पर्क गर्न मोहन आकाशवाणी (वायरलेस) प्रयोग गरिन्थ्यो र त्यो चलन प्रजातन्त्र आएपछि पनि धेरै समय चल्यो । भोलि ‘आवामा कुरा गरौं’ भन्ने खबर पठाएपछि तोकेको समयमा सम्बन्धित मान्छेसित कुरा गर्न पाइन्थ्यो । आज नेपालको जनसंख्याभन्दा बढी मोबाइल फोन रहेको तथ्यांक छ, प्रत्येकका हातमा मोबाइल छ र विश्वभरि ‘निःशुल्क’ कुरा गर्न सकिन्छ । जान्नेका लागि जीवन सहज पार्ने माध्यमका रूपमा मोबाइल र इन्टरनेट छन् । शिक्षा क्षेत्रमा पनि ठूलो परिवर्तन भएको छ, आज २५ प्रतिशतभन्दा कम नेपाली जनता मात्र साक्षर हुन बाँकी छन् । देशमा सक्षम मानवशक्तिको विकास भएको छ, रोजगारीका नयाँ–नयाँ अवसर खुलेका छन् । यस्तो क्रान्तिको फल भने सबै वर्गमा पुगेको छैन, किनभने विकासको ढाँचा एलिटिस्ट (प्रबुद्ध) वर्ग र उच्च जातमा सीमित छ ।
जनतामा चेतना बढ्दै जाँदा परिवर्तन हन्छु । २००७ सालको राणाशाहीविरुद्धको क्रान्ति यस्तै चेतनाको उपज हो । सात सालले नेपालीका लागि नवयुगको ढोका खोलिदियो । तर राजनीतिले सही बाटो लिन नसक्दा र परम्परावाद र आधुनिकीकरणको द्वन्द्वका कारण सर्वांगीण विकासले गति लिन सकेन । लोकतन्त्रको लडाइँ सात सालपछि नै सुरु भएकाले र राजनीतिक नेतामा लोकतान्त्रिक संस्कारको कमीले राजशाहीले खेल्ने मौका लामो समय पायो । तर परिवर्तनका अनेक आयाम र वेग थामिएन । यस लडाइँमा धेरैले ज्यान गुमाए, जेलनेल, हत्कडी बेहोरे । अन्त्यमा लोकतन्त्रसम्म नेपाली आइपुगे तर हुकुमी शासनजस्तो सजिलो लोकतन्त्रमा हुँदैन किनभने निरंकुशतन्त्रमा जनता रैती वा प्रजाका रूपमा जे पनि आदेश शिरोधार्य गर्ने हुन्छन्, लोकतन्त्रमा जनता सबल नागरिक भई शासकलाई उत्तरदायी पार्छन् । स्वतन्त्र सञ्चार, चेतनशील जनता र बुद्धिजीवीले सरकारका नचाहिने गतिविधि, भ्रष्टाचार आदिको विरोध गरिरहेका हुन्छन् । लोकतन्त्र सधैँ गतिशील हुन्छ र कतिपय अवस्थामा द्वन्द्वात्मक पनि । प्रतिपक्ष भनेकै द्वन्द्वको प्रतिनिधित्व गर्ने पक्ष हो । संघर्षका
सबै नकारात्मक पक्ष मात्र हुँदैनन् किनभने लोकतन्त्रमा प्रतिपक्षले सक्रिय भूमिका खेल्न सक्छ, शान्तिपूर्ण किसिमले ।
प्रतिपक्षका अनेक आयाम हुन्छन्– राजनीतिक दलका रूपमा, व्यक्तिका रूपमा वा नागरिक समाज र सञ्चारका रूपमा । नेपाली लोकतन्त्रलाई बचाउन र जगाउन सञ्चारको ठूलो भूमिका रहँदै आएको छ । यसको ठोस उदाहरण आज कतिपय भ्रष्टाचार, घोटाला, राजनीतिज्ञका अशोभनीय र जनविरोधी गतिविधिको उजागर र विरोध गर्ने काममा सञ्चारको महत्त्व धेरै बढेको छ । दक्षिण एसियामा यस्तो सजग (भाइब्रेन्ट) उदाहरण अर्को पाइँदैन । बाटो बिराइरहेका राजनीतिक दलका नेताहरूलाई जनताको कठघरामा उभ्याउन नेपाली सञ्चार सचेत छ र सक्षम छ ।
राजनीतिक दलका नेताको कार्यसम्पादन क्षमता नदेखिँदा र भ्रष्टाचार व्याप्त हुँदा, संस्थाहरू दलीय करणले ग्रस्त पारिँदा र ससाना गुनासो एवं आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकारले नसक्ता जनतामा आक्रोश र असन्तोष जाग्नु स्वाभाविकै हो । यो जुन तन्त्रमा पनि हुन्छ । विकासका नाउँमा धेरै उच्च वर्गलाई खुसी पार्न सफल भए पनि सर्वसाधारण जनताका समस्या समाधान गर्न नसक्ता जनता आन्दोलित हुन्छन् । कतिपय अवस्थामा यस्तो प्रवृत्तिले सत्ता परिवर्तन गरेका अनेक उदाहरण पाइन्छन् । विकासका नाउँमा झन् बढी असमानता बढ्ने तर उच्च वर्गका केही सीमित तप्कालाई यस्ता असन्तोषले नछुने भएपछि क्रान्ति हुने गर्छ । हालसालै प्रकाशित पुस्तक ‘एज अफ रेभुलुसन’ मा फरिद जाकरियाले विश्वमा भएका विभिन्न क्रान्तिको विश्लेषणका दौरानमा यस्तो पनि निष्कर्ष निकालेका छन् । विकासले सीमित वर्ग र जातलाई मात्र सन्तोष मिले पनि पिरामिडका तलका तहमा गरिबको संख्या झन् बढिरहेको छ । विकासशील देशहरूले पश्चिमेली विकास नमुना अपनाउँदा आफ्नोपन हराउँदै गएको र असमानताका खाडल फराकिलो भइरहेको छ ।
आजका शासक र राजनीतिक दलहरू अब यस्तै विकासको अवधारणा र गराइबाट अघि बढ्ने सम्भावना कम देखिन थालेको छ । परम्परावादी सोच र शैलीले नयाँ–नयाँ परिस्थिति सामना गर्न मुस्किल पर्छ । त्यसमा पनि राजनीतिक दलहरूको संरचना यथास्थितिवादी, जात र मध्यमवर्गीय अवधारणामा आधारित छ । अब सबै वाद असान्दर्भिक भइरहेका छन् र यिनीहरूको असफल प्रयोगले भौंतारिएका जनता लोकप्रियतावादको चपेटामा पर्न थालेका छन् । यस्ता प्रवृत्ति अति विकसित मानिएको संयुक्त राष्ट्र अमेरिकादेखि विकासोन्मुख नेपालजस्ता देशसम्म हाबी हुन थालेका छन् । यस्तो परिस्थितिमा नेताको भूमिका गहन हुँदो रहेछ ।
नेतृत्व सबल, जनमुखी र समाजका सबै वर्ग, जातजातिको साझा हुन सके उसले परिस्थितिलाई अनुकूल पार्छ र ऊ सर्वांगीण विकासको प्रतीक बन्न सक्छ । तर विडम्बना के छ भने सशस्त्र द्वन्द्व गर्ने सबै वर्ग, जातजातिको मिश्रण गर्दै सबै तप्काको साझा प्रतिनिधित्व गराउने परिपाटी बसाउने माओवादी पनि आज दलित उत्थानको अगुवा बन्न असफल भएको छ । त्यस्तै मार्क्सवादी लेनिनवादी एमाले र समाजवादमा विश्वास गर्ने नेपाली कांग्रेस वर्ग र जातबाट माथि उठ्न सकेका छैनन् । उदाउन खोज्ने दलहरूमा पनि यस्तै परम्पराको सम्भावना देखिन्छ । त्यसैले आज दलहरूको बनावट एवं सोचाइ उच्च वर्ग र जातपक्षीय भएको छ । उनीहरूबाट समाज रूपान्तरणमा गतिशीलता आउला भन्ने आधार छैन किनभने परिवर्तन गर्ने न सोच छ, न नीति । सांकेतिक रूपमा पनि उनीहरू छुवाछूत जस्तो अमानवीय परम्परा तोड्नका लागि आफ्ना कार्यकर्ता परिचालन गर्न उद्यमशील देखिँदैनन् । वर्ग विभेद अन्त्य गर्ने अभियानमा त झन् उल्टो हिँडिरहेछन् । जहिलेसम्म दलित तथा अति शोषित वर्ग र जातको उत्थान हुँदैन, तबसम्म लोकतन्त्रको आधार बलियो र भरिलो हुँदैन ।
नेपाल र सिंगापुरको तुलना गर्न सकिँदैन । तर ली क्वान युले सिंगापुरलाई जातीय विभेद र शोषणविहीन गर्न तीन थरीका जाति (चिनियाँ, मले र भारतीय) बीच समन्वय गरे र मुलुकलाई आजको विकसित अवस्थामा पुर्‍याए । उनको ‘साझा सभ्यता संस्कार’ को सफलता जातीय तह (हाइरार्की) को अन्त्यले मिलेको हो । उनको नेतृत्वले परिस्थितिलाई
आफ्नो सोचअनुसार अनुकूल पार्न सकेको हो । सिंगापुर कुनै साधन स्रोतसम्पन्न मुलुक नभए पनि अरू वैकल्पिक आधारको राम्रो उपयोग गरेर तेस्रो तहबाट आज पहिलो तहको मुलुकमा रूपान्तरण भएको छ ।
विकासका बहुआयामिक पक्ष हुन्छन् । समाजको पुनःसंरचना, आर्थिक विकास, राजनीतिक संस्थागत विकास, जातीय र जातगत विभाजनको अन्त्य, सुसंस्कारयुक्त नेतृत्वको विकास, शिक्षामा विभेदरहित मौका र समान राजनीतिक पहुँच, महिला र पुरुषबीचको असमानता आदिले रूपान्तरण सम्भव हुन्छ । राजनीतिले नै निर्णायक भूमिका खेल्ने भएकाले (प्राइमेसी अफ पोलिटिक्स) यसको व्यवस्थापन कसरी गर्ने रणनीति तय गरिनुपर्छ । यसमा संस्था र लोकतान्त्रिक संस्कार निर्माणका बहुआयामिक पक्ष पहिचान गरी राजनीतिलाई गुणात्मक रूपमा रूपान्तरित अवस्थामा लान सक्दा मात्र सम्पूर्ण पक्षको विकास हुन सक्छ ।
लोकतन्त्र भनेको निर्वाचित निरंकुश (इलेक्टेड अटोक्र्याट) तयार पार्ने होइन । जनता नै सर्वेसर्वा मान्ने पद्धति हो । तल्ला तहका जनताको न्यूनतम आवश्यकता पूर्ति नभए र भौतिक पूर्वाधार तीव्र गतिमा विकास नगरे नयाँ परिस्थिति सामना गर्न सकिँदैन, न लोकतन्त्रको सही रूप देख्न सकिन्छ । यथास्थितिको राजनीति र विसंगति कायम भए लोकप्रियतावादले फुकेको नयाँ क्रान्तिको वेगले लपेट्नेछ । संविधानले समाजवादउन्मुख व्यवस्था भने पनि प्राथमिकतामा टावर, अनावश्यक हवाईअड््डा जस्ता परियोजना पारी अर्बौं रुपैयाँ डुबाउँदा कसरी संवैधानिक लक्ष्य पूरा हुन्छ ? टावरको साटो बरु अधकल्चो पारिएका रंगशाला बनाए, कर्णाली र सुदूरपश्चिमका पिछडिएका वर्ग र जातको सशक्तीकरणतिर ध्यान पुगे राष्ट्र निर्माणमा नयाँ अध्याय थपिन्छ । समाजवादको नयाँ व्याख्या र त्यसअनुसारको नीति र प्राथमिकता तोकी तीव्र गतिमा ती कार्यान्वयनमा ल्याए मात्र सर्वांगीण विकास सम्भव हुन्छ ।

Page 5
अन्तर्वार्ता

'भारतबाट फर्केर प्रचण्डजीले कांग्रेससँग सहकार्यको प्रस्ताव गरेपछि हामी आफैं अघि बढ्यौं’

- कान्तिपुर संवाददाता

 

दुई ठूला दल कांग्रेस र एमालेले प्रतिनिधिसभाको बााकी कार्यकालभित्र आलोपालो सरकारको नेतृत्व गर्ने गरी सत्ता सहयात्राको सहमति जुटाएपछि मुलुकमा नयाा राजनीतिक परिदृश्य देखा परेको छ । संविधान संशोधनको उद्देश्यसहित बनेको यस गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता दिने र आर्थिक–सामाजिक समस्या सुल्झाउने दाबी गरेको छ । संसदीय प्रणालीमा विरलै देखिने दुई ठूला दलबीच सत्ता सहयात्राका लागि सहमति हुनु पछाडिका कारण के–के हुन् ? आफैंले कााधमा बोकेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छोडेर एमाले किन कांग्रेससाग मिल्न पुग्यो ? यसै विषयमा कांग्रेस–एमाले समीकरण बनाउन भित्री भूमिका खेलेका एमाले महासचिव शंकर पोखरेलसाग कान्तिपुरका दुर्गा खनाल र जयसिंह महराले गरेको कुराकानी :


कांग्रेस–एमालेबीच हालै भएको सत्ता सहयात्राको सहमतिका मूल आधारहरू के–के हुन् ?
नेपालको विकास र समृद्धिको मुख्य समस्या नै अस्थिरता हो भन्ने ‘रियलाइजेसन’ नै सहमतिको मुख्य आधार हो । हामीले राजनीतिक स्थायित्वको आधार खोज्नुपर्छ र त्यसबाट मात्रै लोकतन्त्र संस्थागत र सुदृढ गर्न सक्छौं भन्ने मुख्य पक्ष हो । संविधान कार्यान्वयनका सबल र दुर्बल पक्ष समीक्षा गरेर संविधान संशोधन गर्दै अरू कानुन निर्माण गर्न आवश्यक छ । त्यसका लागि राष्ट्रिय सहमतिको सरकार उपयुक्त हुन्छ भन्ने निष्कर्षमा हामी पुग्यौं । त्यो नै नयाँ सरकार बन्ने मुख्य आधार हो ।
यतिबेला जनताले जे कुरा राजनीतिक दल र सरकारबाट अपेक्षा गरेका छन्, ती प्राप्त हुन सकेका छैनन् । त्यसलाई सम्बोधन गर्ने दायित्व पनि प्रमुख राजनीतिक दलहरूकै हो । हामीले मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणमा देखिएका अवरोधलाई हटाएर अगाडि बढ्नुपर्नेछ । मुलुकमा आर्थिक शिथिलता छ । उद्योगी व्यवसायीलाई निराशाबाट बाहिर निकाल्नुपर्नेछ । युवाको विदेश पलायन बढ्न थालेको छ, त्यसलाई रोक्न मर्यादित खालको रोजगारीका अवसर सिर्जना गर्नुपर्नेछ । यो कसरी सम्भव हुन्छ, त्यही कोणबाट हामी अघि बढ्नुपर्छ भन्ने महसुसले दुइटा पार्टीलाई एक ठाउँमा उभ्याएको छ ।

सहमतिका मूल विषयमा के–के कुरा समेटिएका छन् ?
दुई पार्टीबीच सहकार्यको आधार के हो भन्ने त प्रक्रियागत कुरा भए । हाम्रो सहमतिको मुख्य ‘थ्रस्ट’ राजनीतिक स्थायित्व र मुलुकमा विकास र सुशासनको प्रश्न हो । अर्थतन्त्रलाई गतिशील बनाउने मुख्य कुरा हो ।

संसदीय अभ्यासअनुसार त दुई ठूला प्रमुख दल सत्ता र प्रतिपक्षमा बस्नुपर्ने हो । कांग्रेस–एमाले मिल्दा त दुईदलीय निरंकुशता बढ्ने हो कि ?
सामान्य अवस्थामा तपाईंहरूले भनेको कुरा ठीकै हो । एमाले र कांग्रेस दुवै प्रमुख पार्टी हुन् । परिणाममा पहिलो कांग्रेस छ, जनमतमा एमाले । लोकतन्त्रमा जनमत र परिणाम दुवै चिज अर्थपूर्ण हुन्छन् । सामान्य लोकतान्त्रिक प्रक्रियामा एउटा सत्तापक्ष र अर्को प्रतिपक्षमै हुनुपर्ने पार्टी हुन् । तर जनतामा आज प्रणाली र अभ्यासप्रति जुन असन्तुष्टि छ, त्यसलाई सम्बोधन गर्न जरुरी देखियो । त्यो सम्बोधन गर्ने कुरा संविधानसँग जोडियो । संविधान त कुनै एकल पार्टीले परिवर्तन गर्न सक्दैन ।
म एउटा सन्दर्भ बताउन चाहन्छु– एक समय नेपालमा मौद्रिक संकुचन देखापर्‍यो । त्यसबेला मुद्राको संकट पर्‍यो । बैंकमा डिपोजिट कम भयो । बैंकहरूले डिपोजिट वृद्धि गर्न ब्याज वृद्धिको नीति अख्तियार गरे । जसका कारण व्यवसायी ब्याजको संकटमा परे । आर्थिक निराशा देखापरे । पछिल्लो समय सुन तस्करीको कुरा बाहिर आइसकेपछि एमालेले त्यसलाई नियन्त्रण गर्नका लागि संवैधानिक आयोग गठनको माग गर्‍यो । आयोग गठनपछि मुलुकमा मौद्रिक तरलताको संकटचाहिँ विस्तारमा पुग्यो । अहिले बैंकमा पैसा पर्याप्त छ । तरलता विस्तारका लागि नै राज्यले लगानी गर्नुपर्ने अवस्था आयो । बैंकहरूले जति जम्मा भइरहेको छ, त्यति लगानी गर्न सकेका छैनन् । अहिलेको संकट भनेको त्यही हो । व्यवसायी लगानी गर्न उत्साहित छैनन् । किनकि व्यावसायिक वातावरण दिन सकेका छैनौं । व्यवसायीमा आत्मविश्वास पैदा हुन सकेको छैन । अब मुलुकको अर्थतन्त्र सुध्रिन्छ भन्ने सुनिश्चितता भएन । निजी क्षेत्रले लगानी गर्ने भनेको त नाफाको सुनिश्चितता हुँदा न हो । व्यवसायीले मुलुकमा यस्तो परिस्थिति देखा परिसक्यो, ठूला पार्टीहरू बाहिर बसेर वा सहयोगी बनेर मुलुकमा लगानीको विश्वसनीय वातावरण बन्न सक्दैन भने । त्यस अर्थमा, कांग्रेस र एमालेमध्ये कसैले नेतृत्व गर्नुपर्छ भन्ने विचार प्रकट हुन थाल्यो । दुवै ठूला पार्टी मिले भने विश्वासको वातावरण बनेर आर्थिक संकटहरू टर्छन्् । अर्थतन्त्रकै संकटका कारण जनतामा रहेको निराशा अन्त्य भयो भने लोकतन्त्र सबल हुने आधार तयार हुन्छ भन्ने एउटा कोणमा हामी पुग्यौं ।
अर्कोचाहिँ, अमूर्त रूपमा भ्रष्टाचार नियन्त्रणका कुरा गरेर स्टन्टबाजी गर्ने काम भएको थियो । साँच्चै भ्रष्टाचार नियन्त्रण गर्न सक्ने ठूला पार्टीले मात्र हो । उनीहरूले साँच्चै संकल्प गरेर भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा गए भने स्वतः सिस्टम सुशासनतर्फ गइहाल्छ । साना पार्टीले गर्ने स्टन्टबाजीले भ्रष्टाचार नियन्त्रण र सुशासनतर्फ लैजाँदैन । चर्चा त पाउँछ तर सिस्टम बन्दैन । त्यसका लागि ठूला पार्टीहरू नै अग्रसर हुनुपर्छ भन्ने कोणबाट हामीले सोचेका हौं । लोकतन्त्रमाथि संकट उत्पन्न हुँदा वा जनतामा चरम निराशा पैदा हुँदा, आशा जगाउने काम त ठूला पार्टीहरूले मिलेर नै गर्नुपर्छ । त्यसैले ठूला पार्टीहरूको सहकार्यलाई यो कोणबाट हेर्नुपर्छ ।

कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको माओवादीले २०७९ पछि एमालेसँग मिलेर सरकार बनायो । दुई महिनापछि माओवादी कांग्रेसतर्फ नै फर्कियो । तीन महिनाअघि फेरि एमालेले माओवादीलाई साथ दियो । अहिले फेरि तपाईंहरू त्यो साथ छोडेर कांग्रेसतर्फ लाग्नुभयो । के घटनाक्रमले यस्तो चलायमान हुने अवस्था सिर्जना भयो ?
चुनावलगत्तै पार्टीका तर्फबाट मैले एउटा विचार सम्प्रेषण गरेको थिएँ । त्यतिबेला हाम्रो पार्टीको विश्लेषण तत्कालीन गठबन्धन र हामी दुवैले जनादेश प्राप्त गर्न सकेनौं भन्ने थियो । त्यसैले नेतृत्वको दाबी गर्ने अवस्थामा हामी छैनौं भन्यौं । गठबन्धन हामीभन्दा बलियो छ तर गठबन्धन आफैंमा असफल छ । असफल गठबन्धनबाट राज्यसत्ता सञ्चालन गर्ने कुरा समयको बर्बादी हो, त्यस अर्थमा गठबन्धनबाट ठूला पार्टीहरू बाहिर निस्कनुपर्छ । जो बाहिर निस्कन्छ त्यसको नेतृत्वमा सरकार गठन गर्न एमाले तयार छ भनेका थियौं । हामीले नेतृत्वको दाबी गरेका थिएनौं । त्यो प्रस्ताव कांग्रेस र माओवादी दुवैलाई पठाएका थियौं । कांग्रेससँगको वार्तामा म आफैं धेरै पटक बसेको थिएँ । तर कांग्रेस निष्कर्षमा पुग्न सकेन । माओवादी सुरुमा इच्छुक थिएन, तर जब माओवादीले पूर्वसहमतिअनुसार नेतृत्व नपाउने खालको स्थिति अनुभूति गर्न थाल्यो । त्यसपछि हामीसँग छलफलका लागि तयार भयो । हामी अन्य पार्टीसँग संवादमै थियौं । प्रचण्ड बालकोट आउनेबित्तिकै एक घण्टाका बीचमा हामीले पर्याप्त बहुमत सुनिश्चित गरिदियौं । आँखाअगाडि नै पर्याप्त बहुमत देखेपछि प्रचण्ड तयार हुनुभयो । तर के कारणले हो, दुई महिनामै उहाँ कांग्रेसतर्फ फर्कनुभयो ।
त्यसपछि सरकारको ‘पफर्मेन्स’ थप निराशाजनक भयो । हामीले संकटबाट मुलुकलाई बाहिर निकाल्ने हो भने नयाँ विकल्प खोज्नुपर्छ भन्यौं । प्रचण्डसँग संवादमा गयौं । प्रचण्ड तयार हुनुभयो । नयाँ समीकरण तयार भयो । त्यतिबेला पनि आलोपालोको समझदारी थियो । तर अस्थिरताबाट मुलुकलाई जोगाउने हो भने आलोपालो भनेर अन्योल खडा गर्नु हुन्न । पूरै अवधि प्रचण्डको नेतृत्वमा जान्छ भने पनि जाओस् भनेर अध्यक्ष र मैले भन्यौं । उहाँलाई त्यो ‘कन्फिडेन्स’ दियौं । जनतामा आएको निराशा चिर्न सफल होस् र सरकारले एउटा गति लेओस् भन्ने हिसाबले हामीले त्यसो भनेका थियौं । त्यस अर्थमा प्रचण्ड नेतृत्वको सरकारको विकल्प हामीले खोजेका थिएनौं ।

विकल्प नखोजेको भए पछिल्लो पटक प्रचण्डसँग कुन कुराले तपाईंहरूको मोहभंग भयो त ?
भारतमा नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डजी भारत जानुभयो । हामीले उहाँलाई सक्नुहुन्छ भने सत्ताघटक एमालेसहित जाँदा हुन्छ भन्यौं । तर औपचारिक भ्रमण होइन, प्रधानमन्त्रीका रूपमा मात्र त्यहाँ सम्बोधन हुन्छ भन्नुभएपछि हामीले आफ्नो प्रतिनिधि पठाउन उचित ठानेनौं । हामी त्यो हदसम्म सद्भाव र सहयोगी भूमिकामा थियौं । तर फर्केपछि हामीसँगको परामर्शबिनै उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गर्न थाल्नुभयो । हामीले प्रचण्डसँग बुझ्न खोज्यौं । तर उहाँले हो वा होइन भन्न नसकी कूटनीतिक जवाफ दिन थालेको महसुस भएपछि हामीले कांग्रेससँग परामर्श गर्न थाल्यौं ।
प्रचण्डजीले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकारको कुरा गरेको जानकारी पायौं । एकातिर सरकारले सही ‘डेलिभरी’ दिन नसकेको, अर्कोतिर प्रचण्ड आफैंले राष्ट्रिय सहमतिको सरकारको कुरा गरिरहेको देखियो । तर कांग्रेस राष्ट्रिय सहमतिकै कुरा हो भने त माओवादीभन्दा एमालेसँग जान चाहेको थाहा पाइयो । नामका लागि मात्रै होइन, कामका लागि पनि राष्ट्रिय सहमतिको औचित्य पुष्टि गर्न सकिन्छ भने कांग्रेससँग छलफल गरौं न त भन्ने निष्कर्षमा पुग्यौं । दुई ठूला पार्टी सरकारका लागि मात्र मिले भन्ने सन्देश उपयुक्त होइन । मुलुकमा उत्पन्न संकट समाधानका लागि मिल्दा उपयुक्त हुन्छ भन्ने हो । दुई ठूला पार्टी मिलेपछि साना पार्टीको बार्गेनिङ कम हुन्छ भनेर त कांग्रेससँग भनिरहेकै थियौं । त्यो विचारले विगतमा मूर्तरूप पाएको थिएन ।

नेपालमा सरकार र गठबन्धन बन्ने र ढल्ने क्रममा छिमेकीको साथ सहयोग हुन्छ भन्ने गरिन्छ । अहिले पनि भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीले अर्को कुरा गर्न थाल्नुभयो भन्नुभयो । यी घटनाक्रममा पनि छिमेकीको कस्तो सरोकार थियो ?
त्यो त आधिकारिक रूपमा प्रचण्डजीले भन्न सक्नुहुन्छ । त्यसभन्दा पहिले उहाँले किन केही भन्नुभएन र भारतबाट फर्केपछि यो विषय (राष्ट्रिय सहमतिको सरकार) नेपाली राजनीतिमा प्रवेश गराउनुभयो ? २०७९ को निर्वाचन परिणामपछि मैले पनि धेरै पटक भनिसकेको थिएँ– नेपालको अस्थिरताको कारण धेरै राजनीतिक दलहरूबीच जनमत विभाजित हुनु हो । निरंकुश शासन र तानाशाहीको समयमा आफ्ना एजेण्डा राख्न नपाउँदा धेरै दल रहने कुरा स्वाभाविक हो । तर लोकतन्त्रमा एउटै विचारको वरिपरि धेरै संगठन उचित होइन । नीतिका आधारमा राजनीतिक ध्रुवीकरण अनिवार्य छ । नेपालमा विकास र समृद्धिको नेतृत्व गर्न धेरै दल होइन, बलिया दल चाहिन्छ । उदार पुँजीवाद र समाजवाद प्रमुख धार हुन् । एउटा धारको नेता कांग्रेस र अर्कोको एमाले हुन सक्छ । पार्टीभित्र बस्ने हो भने म छनोटमा नपर्न पनि सक्ने भएँ, स्वतन्त्र रूपमा जितेँ भने त स्वतः मन्त्री हुन्छु भन्ने भावना पनि पार्टीका कार्यकर्तामा देखापर्न थाल्यो ।
यस्ता चिन्तनले लोकतन्त्र कमजोर हुन्छ । पार्टीहरू कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । त्यसैले लोकतन्त्रमा पार्टी बलियो हुनु जरुरी हुन्छ । अर्कोतर्फ विकास र समृद्धिका लागि राज्य बलियो हुन जरुरी छ । लोकतन्त्रभित्र स्थायित्वको आधार बलिया दलहरू हुन् । त्यस कोणबाट बहस गरिरहेको परिप्रेक्ष्यमा नयाँ समीकरण बनेको हो । यो समीकरणले नयाँ दिशातर्फ लैजाने आधार निर्माण गर्न सक्छ भन्ने लाग्छ । अब संवैधानिक र कानुनी रूपमा दलहरूलाई बलियो बनाउने आधार खोजिन्छ । अर्कोतर्फ व्यावहारिक रूपमा साना दलहरूका माध्यमबाट सत्ताको बार्गेनिङ गर्ने, सानो भए पनि निर्णायक छु भनेर दाबी गर्ने स्थितिको अन्त्य हुन्छ ।

दुइटा धार बलिया हुनुपर्छ भन्नुभयो । तर कांग्रेस र एमाले नै मिलेपछि त अब दुई धारै रहेन नि, होइन ?
अहिलेको एकता मिसन–८४ सम्मका लागि हो । साना दलहरूको सत्ताको बार्गेनिङलाई अन्त्य गर्ने, संवैधानिक र कानुनी अधारमा ठूला दलहरूका माध्यमबाट स्थायित्व प्राप्त हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले संविधान संशोधन, कानुन निर्माणको एजेण्डा भनेको राजनीतिक स्थायित्वका लागि हो । अहिलेको व्यवस्थाले बलिया राजनीतिक दल निर्माण गर्ने कुरामा जटिलता सिर्जना गरेको छ । त्यसलाई हल गर्दा दलहरू बलिया हुन्छन् र स्थायित्व हुन्छ । विकास र समृद्धिले तीव्रता हासिल गर्न सक्छ ।

तपाईंहरूको सहमतिमा निर्वाचन प्रणाली हेरफेर गर्ने भनिएको छ, कस्तो निर्वाचन प्रणाली बनाउन खोज्नुभएको हो ?
दुई दलको मात्रै छलफलबाट संविधान संशोधनको पर्याप्त आधार तयार हुँदैन । त्यसमा अन्य दलहरूसँग पनि परामर्श गर्नुपर्ने हुन्छ । हामी जे सुधार गर्छौं, त्यसले समस्या होइन, समाधान र आशा जगाउनुपर्छ । अहिलेको चुनाव प्रणाली नेपाली समाजको आकांक्षासँग जोडिएर आएको हो । त्यो आकांक्षा मर्न दिनु भएन, त्यसलाई सुरक्षित राखेरै संरचनागत सुधार गर्नुपर्छ । छलफल गर्दै जाँदा समानुपातिक समावेशीको आकांक्षा पनि सम्बोधन हुने, बहुमत सुनिश्चित हुने प्रणाली पनि विकास गर्न सकिन्छ ।

राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउने, प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राख्ने, स्थानीय तहको संख्या घटाउने र वडाको संख्या बढाउने भन्ने समझदारी भएको भन्ने छ नि ?
त्यस तहमा छलफल गरेको होइन । त्यो आम प्रतिक्रियाका रूपमा सार्वजनिक सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा जनताका सुझावका रूपमा प्राप्त गरिरहेका छौं । एउटा समस्याको हल गर्दा अर्को समस्या पैदा हुने बाटामा जानु हुँदैन । त्यस अर्थमा समानुपातिक समावेशीको आकांक्षा पनि सम्बोधन हुने, स्थायित्व पनि सुनिश्चित हुने कुनै वैकल्पिक उपाय छ कि भन्ने बाटो सोच्नुपर्छ । ठ्याक्कै यान्त्रिक हिसाबले यो असफल भयो, अर्को ढंगले जाऔं भन्ने कुरा गर्दा अर्को नयाँ प्रकारको असन्तुष्टि सिर्जना हुन सक्छ । त्यो नयाँ असन्तुष्टि सिर्जना नहुने विकल्प खोज्नुपर्छ ।
संविधान निर्माणका क्रममा पनि धेरै असन्तुष्टि थिए । अब संविधान संशोधनको ढोका खोलेपछि ती विषय प्रवेश गर्छन् र नयाँ जटिलता आउन सक्छन् भन्ने कुरालाई कति ख्याल गर्नुभएको छ ?
एमाले–कांग्रेसको ‘स्ट्रेन्थ’ संविधानसभाको समयमा भन्दा ज्यादा प्रकट भएको छ । नयाँ पार्टीहरू जो आएका छन्, उनीहरूले अगाडि सार्ने मुद्दा अलि फरक प्रकृतिका हुन्छन् । त्यस कारण संविधानसभाको बेलाको फरक मतको ‘पोजिसन’ र अहिलेको फरक मतको ‘पोजिसन’ मा भिन्नता छ । लोकतान्त्रिक अभ्यासका अनुभवहरू पार्टीहरूका आफ्ना घोषणापत्रमा प्रकट हुन थालेका छन् । त्यस अर्थमा हिजो र आजको परिस्थितिमा भिन्नता छ भन्ने त स्वतः बुझ्न सकिन्छ । सकेसम्म हामी सहमतिमा बदल्ने कोसिसमा छौं र संविधानको समीक्षा गर्ने क्रममा अरूलाई पनि सामेल गरेर जानुपर्छ र समाधान खोज्दाखेरि हिजोको तुलनामा अझ बलियो सहमति निर्माण गर्ने दिशामा नै जान्छौं । विवाद सिर्जना गर्ने हिसाबले होइन, आशा जगाउने हिसाबले नै जानुपर्छ ।

राष्ट्रिय सहमति भन्नुभएको छ, यसभित्र को–को समेटिन्छन् ?
राष्ट्रिय सहमतिलाई दुइटा कोणबाट हेर्नुपर्छ ।
पहिलो, परिणाममा पहिलो स्थानमा रहेको कांग्रेस र लोकप्रिय जनमतमा पहिलो स्थानमा रहेको एमाले मिलेपछि यो आफैंमा राष्ट्रिय सहमति हो । अर्को, हामीकहाँ संविधान संशोधन गर्ने ‘स्ट्रेन्थ’ को जुन कुरा छ, त्यसलाई नै राष्ट्रको अभिव्यक्ति मान्ने हो भने दुई तिहाइको आधार तयार गर्न सकिए त्यो पनि राष्ट्रिय सहमति हो ।

राष्ट्रिय सहमतिभित्र माओवादीको स्थान के हुन्छ ?
माओवादी शान्ति प्रक्रियाको पक्ष भएका नाताले राष्ट्रिय सहमतिको सरकारमा जोडिनु र जतिसक्दो छिटो शान्ति प्रक्रियाका काम टुंग्याउन पनि सरकारमा सामेल हुनु उचित हुन्छ । हामीले उहाँहरूलाई त्यही अनुरोध गरेका छौं । उहाँहरूको अनुपस्थितिमा पनि राष्ट्रिय सहमतिको उद्देश्यअन्तर्गतका प्रक्रिया अगाडि बढ्छन् । तर हाम्रो प्रयास उहाँहरूलाई सहमत गराएरै राष्ट्रिय सहमतिको सरकारमा पनि सहभागी बनाउने, कारणवश उहाँहरू सरकारमा सहभागी हुनुभएन भने अन्य प्रक्रियामा सहभागी बनाउने कुरा रहन्छ ।

एमाले–कांग्रेस सहमतिपछि संविधान संशोधनको कुरा प्रतिगमनतिर जाने खालको हो कि भन्ने आशंकासहित माओवादी सचिवालयले प्रतिक्रिया सार्वजनिक गरेको छ नि ?
सायद उहाँहरूकै ‘स्टेटमेन्ट’ सुनेपछि होला, कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरेरै अगाडि बढ्ने हो भनेर आफ्नो निर्णयमा उल्लेख गरेको छ । हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गरी बढ्न खोजेका होइनौं । अस्थिरताका आधार समाप्त गर्ने र दलहरूलाई बलियो बनाउने आधारको खोजी गर्न लागेका हौं । राजनीतिक दलहरू बलियो हुने आधार छन्, जस्तो कि ‘थ्रेसहोल्ड’ को प्रक्रिया । प्रदेशमा १.५ प्रतिशत मत प्राप्त गर्नेले पनि प्रादेशिक दलको मान्यता प्राप्त गर्ने र समानुपातिक सिट प्राप्त गर्ने स्थिति छ । त्यसै कारणले प्रदेश सरकार केन्द्रको सरकारभन्दा अस्थिर छन् । थ्रेसहोल्डको व्यवस्थालाई कानुनी रूपमै बदल्न सक्छौं, त्यसका लागि संविधान संशोधनमा प्रवेश गरिरहनै पर्दैन । अर्कातिर संविधानतः अघि चर्चा भएको निर्वाचन प्रणालीभित्र समानुपातिक समावेशी भावनालाई सम्बोधन गर्दै प्रत्यक्ष चुनावलाई बलियो बनाउने बाटोतर्फ जान सकिन्छ । त्यसमा उपाय के हुन सक्छन् भनेर खोजी गर्न सकिन्छ, त्यसले संविधानको मूल मर्मलाई असर पार्छ भन्ने मलाई लाग्दैन ।

कांग्रेस–एमालेबीच विगतमा २०६२/६३ को जनआन्दोलन, संविधान निर्माण, संविधानसभा निर्वाचन जस्ता महत्त्वपूर्ण काममा सहकार्य भएको हो । तर २०७२ सालमा संविधान जारी भएपछि सहमति भत्केको थियो । अहिलेको सहमति पनि निरन्तर कार्यान्वयनमा जान्छ भन्ने ग्यारेन्टी के छ ?
नेपाली राजनीतिमा यस्ता उतारचढाव हुँदै आएका छन् । हामीले जुन हिसाबले राजनीतिलाई सकारात्मक दिशातिर अगाडि बढाउनुपर्ने हो, त्यसमा असफल भएका छौं । त्यसबाट शिक्षा लिँदै अगाडि बढ्ने हो । पहिलो संविधानसभा असफल भएपछि दोस्रो संविधानसभालाई सफल पार्ने कुरामा कांग्रेस र एमालेबीच जुन समझदारी भयो, त्यसमा माओवादी पनि जोडियो र त्यसले नै संविधान बन्यो । त्यतिबेला संविधान निर्माणसम्म कांग्रेसले नेतृत्व गर्ने, त्यसपछि संविधानको कार्यान्वयन पनि दलहरू मिलेरै गर्ने र त्यसको नेतृत्व एमालेले गर्ने भन्ने सहमति थियो । तर संविधान कार्यान्वयन गर्ने प्रक्रियामा जब नेतृत्वको प्रश्न आयो, कांग्रेसभित्रकै केही नेता दुई प्रमुख पार्टीहरू मिल्नु हुँदैन भन्ने बाटामा जानुभयो । सुशील कोइरालाजी प्रधानमन्त्री उम्मेदवारै बन्नुभयो । एक प्रकारले पूर्वसहमति उल्लंघन भयो । त्यो कमजोरी भएको भन्ने ‘रियलाइजेसन’ अहिले देउवाजी स्वयंको छ ।
अहिले नयाँ परिस्थिति सिर्जना भएको छ । हिजो हामीले जुन सहमतिको अपेक्षा गरेका थियौं, त्यही बिन्दुमा फेरि आइपुग्यौं । हिजो संविधान निर्माण र संविधान कार्यान्वयनमा मिल्नुपर्छ भनेका थियौं । अब हामी संविधान कार्यान्वयनको जटिलतालाई सम्बोधन गर्न मिल्नुपर्छ भनेर मिलेका छौं । यो प्रक्रिया संविधानको जटिलता हल गरेर नयाँ चुनाव गर्ने प्रक्रियासम्म रहन्छ । त्यसकारण संविधान कार्यान्वयनको जटिलता हल गर्ने चरणसम्म केपी ओलीले नेतृत्व लिनुहुन्छ, त्यसमा कांग्रेससमेत सामेल हुन्छ । कार्यान्वयन गर्ने प्रक्रियामा कांग्रेसले नेतृत्व गर्नुहुन्छ, एमालेले सहयोग गर्छ ।
अब डेढ वर्षपछाडि सत्ता परिवर्तन हुँदा माओवादीको भूमिका आउला, त्यो बेला माओवादी कतै मिल्यो भने पनि एमाले–कांग्रेसको सहमति टुट्दैन ?
हाम्रो कारणले कहिल्यै ब्रेक भएको छैन । अब नेपालको राजनीतिमा उथलपुथल गरिरहन्छु भन्ने प्रचण्डजी निर्णायक अवस्थामा हुनुहुन्न । हामी त्यस ठाउँबाट बाहिर निक्लिइसकेका छौं । मलाई लाग्छ, अब राजनीति सोझो बाटोमा हिँड्ला । सामान्यतया हामीले दुई वर्षमा संविधानका जटिलता हल गरिसक्नुपर्छ भन्ने बुझाइमा छौं । त्यसपछि कार्यान्वयन गर्ने प्रक्रियाको चरण सुरु हुन्छ ।

तपाईंहरूको चुनावी जनमतको आधार पनि फरक–फरक छ । आफ्नो भोटबैंकलाई असर गर्ने आशंकामा चुनावका बेला अर्को गठबन्धन बन्ने हो कि ?
हामी गठबन्धनमै हुन्छौं । २०४८ देखि नै एमालेको नेतृत्वमा चुनाव भएको छैन । हामीले अरूलाई नै नेतृत्व दिएर चुनाव गर्ने गरेका छौं । हामी चुनावका लागि सत्ता अपरिहार्य हो भन्ने मान्यता राख्दैनौं । त्यो दुनियाँले बुझ्दा हुन्छ, एमाले अहिलेसम्म चुनावी सरकारको नेतृत्व दाबी गरेर बसेको अवस्था होइन । मुख्य कुरा भनेको जनता हो । जनताका एजेन्डा बोकेर जाने हो चुनावमा ।

अबको चुनाव लड्दा कांग्रेस र एमाले सत्तामा त रहने भए । अरूसँग एमालेको गठबन्धन हुन्छ कि हुन्न ?
गठबन्धन नगरी चुनाव लड्नुपर्छ भन्ने मान्यतामै छलफल गरिराखेका छौं । नेपाली राजनीतिलाई सही धारमा अगाडि बढाउन चुनाव अगाडिको गठबन्धन उपयुक्त होइन भन्ने खालको बहस चलिरहेकै छ । त्यसमा म आफैंले निरन्तर पैरवी गरेको छु । गएको चुनावमा पनि मैले कांग्रेसका साथीहरूलाई त्यही प्रस्ताव राखेको हो । म के ठान्छु भन्दा कांग्रेसले पनि महसुस गर्दैछ । कांग्रेसकै कतिपय नेताले चुनाव अगाडिको गठबन्धन उपयुक्त होइन भनिराख्नुभएको छ, चुनावमा त आफ्नो नीतिका आधारमा जानुपर्छ भन्ने कुरा गरिराख्नुभएको छ ।

नेपालमा कम्युनिस्ट घटक धेरै छन्, चुनावमा विचार मिल्ने शक्तिसँगको एकता भन्ने पनि आउला नि ?
हामीले कम्युनिस्ट घटकहरूलाई एमालेमा आउनू भनिराखेका छौं । साँच्चै समाजवाद निर्माण गर्न चाहने हो भने चुलाचौका राखेर होइन, मूलधारमा जोडिनुपर्दछ भनेका छौं । मूलधारमै जोडिने गरी आउनुभयो भने स्वागत गर्छौं, तर अलग पार्टीको अस्तित्वमा गठबन्धन गर्ने भन्नेचाहिँ सफल भएको देखिएन । एउटा अभ्यास त गर्‍यौं नि २०७४ मा, सफल भएन । फेरि त्यही गल्ती किन दोहोर्‍याउने ? अब नेताका टाउका जोडेर एकता गर्ने कुरा पनि असफल भइसक्यो । भविष्यका बारेमा सोच्ने हो भने कार्यकर्ताको मन जोड्नुपर्छ । टाउका जोड्ने जमाना सिद्धियो ।

कम्युनिस्ट घटकबीचको चुनावी गठबन्धन पनि छुट्टाछुट्टै पार्टीको अस्तित्वका रूपमा हुँदैन भन्ने हो ?
धेरै पार्टीलाई अस्तित्वमा राख्नु भनेको मुलुकका लागि अस्थिरता सिर्जना हो । माधव नेपालजीलाई पनि १० सिट हुँदा प्रधानमन्त्री चाहियो । उहाँको असन्तुष्टिको आधार भनेको पहिलेको समीकरणमा मलाई प्रधानमन्त्री दिने भनेका थिए, अब केपी ओलीसँग जोडिएपछि खोसियो भन्ने पीडा त हो नि । त्यस अर्थमा १० सिटले प्रधानमन्त्री पाउने, ३२ सिटले आलोपालो प्रधानमन्त्री भइरहने । जे कुरा आएको छ, त्यो कम्युनिस्ट पार्टीकै नाममा त आयो नि । जे पार्टीका नाममा आए पनि अस्थिरता अन्त्य गर्नुपर्छ ।

संसद्भित्रका रास्वपा, जसपा, जसपा नेपाल र एकीकृत समाजवादीलाई राष्ट्रिय सहमतिको सरकारमा ल्याउने भूमिका कसरी खेल्नुहुन्छ ?
संविधान निर्माण प्रक्रियामा उहाँहरू सबैको साथसहयोग लिन्छौं । जब संविधानका जटिलता हल गरिसकेपछिको प्रक्रिया सुरु हुन्छ, नयाँ चुनावका बेला कसैसँग गठबन्धन नगर्ने प्रक्रियामा कांग्रेस र एमाले अगाडि बढ्नुपर्छ ।

अहिलेकै सरकारमा साना दल समेटिने सम्भावना छ ?
संविधान संशोधन गर्न दुई दलले मात्रै दुई तिहाइ सुनिश्चित हुँदैन । संविधानकै मामिलामा विमर्श गर्न खोजिराख्या छौं । अब सरकारकै लागि बाध्यकारी छैन । अहिले हामीलाई कुनै एउटा दललाई जोड्दा पनि दुई तिहाइ पुग्ने रहेछ । अरू बाँकी दल त रहन्छन् तर उनीहरूलाई संविधान संशोधनको प्रक्रियामा जोड्छौं ।

अध्यक्ष ओलीको नेतृत्वमा सरकार निर्माण प्रक्रिया कहिले सुरु हुन्छ ?
प्रचण्डजीले बहुमत गुमाइसकेको अवस्थामा राजीनामा दिएर नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन सहयोग गर्दा उपयुक्त हुन्छ । होइन म संविधानले दिएको अधिकतम अधिकार प्रयोग गर्न चाहन्छु भन्नुभयो भने उहाँले एक महिनाको अवधि प्राप्त गर्नुहुन्छ ।

विश्वासको मत लिने प्रक्रियामा जानुभयो र मत प्राप्त गर्न सक्नुभएन भने सरकार निर्माण त ठूलो दलको हैसियतमा कांग्रेसको हुन्छ भन्ने विश्लेषण पनि भइरहेको छ नि ?
अहिले अन्योल के छ भने संविधानको धारा ७६ (२) अन्तर्गतको सरकारले विश्वासको मत लिइसकेको छ । अब हुने विश्वासको मत भनेको संविधानको धारा १०० अन्तर्गतको नयाँ प्रक्रिया हो । त्यस प्रक्रियामा सरकारले विश्वासको मत पाएन भने पदमुक्त हुन्छ । पदमुक्त भएपछि फेरि संविधानको पुरानै प्रक्रिया फर्किन्छ । यो नबुझ्दाखेरि कतिपय मान्छेले नयाँ सरकार गठन गर्ने कुरामा संविधानको जटिलता छ भन्छन्, त्यो जटिलता होइन । सरकार गठनका लागि धारा ७६ (२) को प्रक्रियामै जान्छ ।

 

Page 6
युवा ग्यालरी

जापानी सुसी नेपाली सिप

- नवीन पोखरेल

(लन्डन)
डेढ दशकअघि बेलायत सरकारले अध्यागमन नीति निकै खुकुलो पारेपछि विद्यार्थीको बाढी नै आयो । त्यही मेसोमा नेपालबाट पनि ओइरिए हजारौं विद्यार्थी । त्यसैमध्येका एक हुन् दोलखाका छोङ नोर्बु शेर्पा ।
२०६१ सालमा एसएलसी दिएलगत्तै उनी काठमाडौं पसे । सपना थियो बेलायती लाहुरे बन्ने । कक्षा १२ सम्मको पढाइ सकेपछि ‘ट्राई’ गरे । तर सफलता हात लागेन । अस्ट्रेलिया जाने भनेर भाषा परीक्षा पनि दिए । तर विद्यार्थी भिसासम्बन्धी केही नियम परिवर्तन भयो त्यसैबेला । त्यसपछि भिसा नपाउने निर्क्यौमा पुगेपछि कन्सल्टेन्सीसँगको सल्लाहमा आवेदन फिर्ता लिए ।
त्यसपछि के गर्ने र कसो गर्ने अन्योलमै थिए उनी । त्यसै क्रममा बेलायतले टियर फोर नीति ल्याएपछि २००९ जुलाईमा लन्डन आइपुगे । सुरुका दिन निकै संघर्ष खेपे उनले । करिब आठ महिना त काम नै पाएनन् । त्यतिबेला साथीहरूबाट ऋण लिएर जसोतसो बाँचेको बताउँछन् छोङ । पछि नर्थ ह्याम्पटनस्थित नेपाली रेस्टुरेन्टमा काम पाए । ‘सातामा ४ दिन काम गरेर ८० पाउन्ड कमाइ हुन्थ्यो,’ उनले उतिबेलाका संघर्षका दिन सम्झिए, ‘त्यो पनि लन्डन प्लमस्टिडबाट त्यति टाढा जानुपर्दा लगभग सकिन्थ्यो ।’
लन्डन आएको अर्को वर्ष अप्रिल उनले साथीमार्फत सुसी सेफको काम पाए । सँगसँगै दुइटै काम अनि पढाइ पनि । व्यवस्थापन सहज थिएन । सोमबार र मंगलबार कलेज थियो । म्यारिटाइम ग्रिनिच कलेजमा सूचना प्रविधि (आईटी) पढ्न आएका उनले कलेज बन्दको तनाव पनि झेले । पछि साउथ लन्डन कलेज ट्रान्सफर भए । विषय पनि परिवर्तन गरेर बिजनेस म्यानेजमेन्ट लिए ।
पछि फेरि अर्को कलेज पुगेका उनले २०१४ मा सुसीको व्यवसाय पनि सुरु गरे । २०१५ अन्तिमतिर वेस्ट मिनिस्टर कलेजबाट हस्पिटालिटी म्यानेजमेन्टमा पोस्ट ग्र्याजुएट गरे । त्यसपछि भने उनले पढाइलाई विश्राम दिए र व्यवसायलाई गति दिए । हाल ३७ वर्ष पुगेका छोङको आम्दानी र जीवनशैली भने निकै फेरिएको छ । उनी सफल सुसी व्यवसायीका रूपमा परिचित छन् लन्डनमा । गत महिना उनले ‘इरो’ (जापनी अर्थ रंगीन) ब्रान्डको सुसीको २३ औं शाखा खोलेका छन् । छोङले २०१४ मा क्ल्यापहाम जंक्सनमा इरोको पहिलो शाखा खोलेका थिए । औद्योगिक क्षेत्रमा एउटा स्यान्डविच किचन थियो, त्यसले होटल वा एयरलाइन्स्लाई स्यान्डविच सप्लाई गर्थ्यो । त्यसैको किचन साँझ ५ देखि १० बजेसम्म चलाउँथे छोङ । बिहान अन्त काम गर्ने, बेलुका सुसी बनाएर अनलाइनबाट बेच्ने गर्थे उनी । काममा सघाउन दुई कामदार र एक जना चालक राखेका थिए ।
उक्त व्यवसाय जम्मा पाँच हजार पाउन्डमा सुरु भएको थियो । व्यवसाय राम्रो चल्दै गएपछि उनले २०१५ मा हाइस्ट्रिटमा ‘इरो’ सुसी खोले । केहीले बसेरै खान मिल्ने र होम डेलिभरी व्यवस्थासहित फास्टफुड र क्यूएसआर (क्विक सर्भिस रेस्टुरेन्ट) बिजनेस मोडलमा सञ्चालित छ यो । पहिलो सुसी रेस्टुरेन्ट खोलेपछि जम्मा भएको पैसाले २०१८ मा फुलहाममा दोस्रो र ग्रिनविचमा तेस्रो शाखा खोले ।
केही महिनापछि टावर ब्रिजमा चौथो शाखा खोले ।
फुलहाम र टावर ब्रिज आउटलेट छोङको आफ्नै स्वामित्वमा छ भने ग्रिनविच शाखासँगै काम गरेको साथीलाई लगानी गरिदिएर खोलिदिएका हुन् । यसपछि भने उनले ‘फ्रेन्चाइज’ बारे थाहा पाए । त्यसपछि ग्रिनविचबाट सुरु भयो उनको फ्रेन्चाइज कन्सेप्ट । ‘सुरुमा त फ्रेन्चाइज के हो भन्ने नै थाहा थिएन । किताब पढ्ने, युट्युबबाट यसबारे जानकारी पाएँ,’ उनी भन्छन् । कोभिड महामारीमा फैलिएपछि भने उनको व्यवसाय झन् फस्टायो ।
कोभिडका बेला हाइगेट, साउथ नरवुड र दुई तीन महिनाको अन्तरालमा वेलिङ, पर्ली, क्यामडेन, स्ट्राटफोर्ड, रेडिङ, स्लाओ, क्रोयडन, डार्टफोर्ड, पाल्मर्स ग्रिनमा थपिए ‘इरो’ का शाखा । त्यसपछि क्रमशः ब्रम्ली, चिङफोर्ड, अर्पिङटन, सिडकप, स्टक न्युविङटन, उलविच, एल्थाम, पेन्जमा खुल्यो इरो । लन्डनबाहिर मेडस्टोन, क्यान्टबरी, वाटफोर्ड, क्यामब्रिज, पिटरबरो र ब्राइटनमा समेत शाखा खोल्ने तयारीमा छन् उनी । वर्षमा १० वटा शाखा बनाउने लक्ष्यअनुसार काम पनि भइरहेको छोङ बताउँछन् । संयुक्त अधिराज्य (यूके) का चारवटै राज्यमा पुग्ने लक्ष्य उनमा छ ।
त्यति मात्र होइन, अर्को वर्षदेखि पहिलो चरणमा अमेरिका र युरोपमा पनि शाखा विस्तार गर्ने योजनामा छन् छोङ । अमेरिका निकै ठूलो बजार भएकाले आफ्ना लागि यो परीक्षा नै हुने उनी बताउँछन् । नेपालमा शाखा खोल्नेबारे भने अझै सोचिसकेका छैनन् छोङले । त्यसका कारण हो, आवश्यक कच्चा पदार्थको अभाव । ‘यहाँबाट गुणस्तरीय कच्चा पदार्थ नेपालसम्म लैजान जटिल भएकाले नेपालमा शाखा खोल्न कठिन देखिएको छ,’ उनले भने ।
आफ्नो व्यवसाय दुई मोडेलमा चलिरहेको छोङको भनाइ छ । एउटा साझेदारीमा र अर्कोचाहिँ सम्पूर्ण लागानी आफैं गरेर चलाउने । अनुभवी सुसी सेफ, रेस्टुरेन्ट व्यवसायी छन् भने ‘राइट क्यान्डिडेट’ लाई फाइनान्स पनि उपलब्ध गराएर पार्टनरसिपमा बिजनेस सुरु गर्छन् छोङ । कोही लगानी मात्र गर्न चाहन्छन् भने पनि आफूसँग मिलेर फ्रेन्चाइजी चलाउन पाउने उनले बताए । तर, कसैले सम्पूर्ण लगानी गर्न चाहन्छन् भने फ्रेन्चाइजी फी र टर्नओभरमा ५ प्रतिशत रोयल्टी तिर्नुपर्ने सर्त छ उनको ।
इरोको धेरै फ्रेन्चाइजी नेपाली नै छन् । उनले कति जनालाई ऋण नै दिएर पनि व्यवसाय सुरु गरिदिएका छन् । उनका अनुसार करिब एक लाख पाउन्डमा सबै ‘सेटअप’ हुन्छ । अरुले फ्रेन्चाइज लिए स्थान छनोट गरी व्यवसाय सुरु गरिदिने र आवश्यक सम्पूर्ण व्यवस्था गरिदिने छोङले बताए । ‘त्यसका लागि हामीसँग अनुभवी टिम छ,’ उनले भने, ‘गुणस्तर, व्यवस्थापन, सेवा र कामदार राम्रो भए व्यवसाय नचल्ने कुरै छैन ।’

युवा ग्यालरी

युनिग्लोब कलेजमा 'भीम्याग’

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपालमा सञ्चालित विभिन्न कलेजको शैक्षिक वातावरण, गुणस्तरी शिक्षा, अतिरिक्त क्रियाकलापलगायतका विषयमा जानकारी दिँदै आएको ‘भीम्याग’ टिम काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेज पुगेको छ ।
‘कलेज टु वाच’ अन्तर्गत भीम्याग टोलीले कलेजका प्राचार्य तथा शिक्षकहरूसँग कुराकानी गरेको छ । कुराकानीमा क्रममा कलेजका प्राचार्य गणेश रेग्मीले युनिग्लोब कलेजले विज्ञान, व्यवस्थापन र कानुन विषयमा अध्ययन/अध्यापन गराउँदै आएको बताए । ‘विद्यार्थीका चाहनालाई केन्द्रमा राखेर पठनपाठनलगायत गतिविधि गरिने भएकाले कलेजको शैक्षिक नतिजा निकै उत्कृष्ट रहेको छ,’ उनले भने, ‘शैक्षिक गुणस्तर नै यो संस्थाको पहिलो प्राथमिकता हो ।’
रेग्मीका अनुसार कलेजले कक्षाकोठामा गरिने पढाइ सँगसँगै पाठ्यक्रममा उल्लेखित विषयवस्तुलाई खेलमैदानदेखि पुस्तकालयसम्म र प्रयोगशालादेखि अन्वेषण कक्षसम्म अनुसन्धानात्मक तरिकाबाट विद्यार्थीमाझ पुर्‍याउँदै आएको छ ।
कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीले एमबीबीएस, इन्जिनिरिङ, सूचना प्रविधिलगायत विषयमा देश तथा विदेशमा छात्रवृत्ति हासिल गर्न सफल भएका उनले बताए । त्यसबाहेक पनि कलेजले वार्षिक क्यालेन्डरअनुसार खेलकुद, गायन, नृत्य, कला, निबन्ध लेखनलगायत विभिन्न अतिरिक्त क्रियाकलापसमेत गराउँदै आएको छ ।

Page 7
अर्थ वाणिज्य

दर्जन मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम

- विमल खतिवडा

(काठमाडौं)
चालु आर्थिक वर्ष सकिन १० दिन मात्र बाँकी रहँदा दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम छ । सरकारले पुँजीगत खर्चमा बढोत्तरी ल्याउन अनेक प्रयास गरेको दाबी गरिरहँदा विकासे मन्त्रालयहरूकै पुँजीगत खर्च न्यून छ । चार मन्त्रालयको खर्च २० प्रतिशत पनि कट्न सकेको छैन ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सबैभन्दा कम खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा २३ करोड ४४ लाख विनियोजन भएकामा २ करोड २१ लाख ३४ हजार रुपैयाँ मात्र खर्च भएको छ । अर्थात् ९.४४ प्रतिशत मात्र खर्च भएको हो । २० प्रतिशत पनि खर्च नकटाउने मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति छन् । यी मन्त्रालयको पुँजीगत खर्च क्रमशः १०.५०, ११.५८ र १६.९७ प्रतिशत मात्र छ ।
३० प्रतिशत पनि खर्च नकटाउने मन्त्रालय ३ वटा छन् । महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार अर्थको २७.६०, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २७.६१ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको खर्च २७.९४ प्रतिशत छ । सबैभन्दा बढी खर्च गर्ने मन्त्रालयमा रक्षा पर्छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६७ करोड १२ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमध्ये मन्त्रालयले ४ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ खर्चिएको छ ।
अर्थात् कुल विनियोजितमा मन्त्रालयले ८१.७२ प्रतिशत खर्च गरेको हो । धेरै बजेट पाउने विकासे मन्त्रालयले आर्थिक वर्ष सकिन लाग्दा पनि पुँजीगत खर्च ६० प्रतिशत कटाउन सकेका छैनन् । सबैभन्दा बढी बजेट पाउने विकासे मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पर्छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब २८ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको हो । यसमध्ये ५९.६६ प्रतिशत मात्र खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको असार १८ सम्मको तथ्यांकअनुसार यो मन्त्रालयले ७६ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको अहिलेसम्मको पुँजीगत खर्च न्यून नै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले स्विकारे ।
‘अर्थ मन्त्रालयमा १० अर्बभन्दा बढी बजेट रकमान्तरका लागि पठाइएको छ, यो स्वीकृत भएर भुक्तानी भएपछि मन्त्रालयको पुँजीगत खर्च बढ्छ,’ उनले भने, ‘त्यसपछि समग्रमा मन्त्रालयको पुँजीगत खर्च ७० प्रतिशत हाराहारी पुग्नेछ ।’ काम भइरहेका आयोजनामा सुरु विनियोजित बजेट अपुग भएर त्यस्ता आयोजनामा रकमान्तर गरेर पठाइएको उनको भनाइ छ ।
‘समग्रमा पुँजीगततर्फ विनियोजित बजेट कम खर्च भएको छ । यसमा समग्र व्यवस्थापनको गम्भीर चुनौती हो ।

यसमा एउटा मात्र निकाय जिम्मेवार छैन,’ उनले भने, ‘अर्थ मन्त्रालयसँग अधिकार जति केन्द्रीकृत भएर बसेको छ, जसले गर्दा समस्या सिर्जना भएको छ, नीतिगत निर्णय गरेर भए पनि यसमा सहजीकरण गर्नुपर्छ, नत्र यही समस्या अर्को वर्ष दोहोरिने निश्चित छ ।’
विकासे मन्त्रालयका रूपमा रहेको सहरी विकास मन्त्रालयले पुँजीगत खर्च ५० प्रतिशत कटाउन सकेको छैन । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ४१ अर्ब ८५ करोड १२ लाख रुपैयाँ विनियोजन भएको थियो । अहिलेसम्म मन्त्रालयले ४७.८० प्रतिशत मात्र खर्च गरेको छ । कम खर्च गर्नेमा खानेपानी मन्त्रालय पनि पर्छ । यो मन्त्रालयले अहिलेसम्म कुल पुँजीगततर्फ विनियोजित बजेटको ३९.७५ प्रतिशत मात्र खर्चिएको छ । यो मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १२ अर्ब १४ करोड ३३ लाख विनियोजन गरेकामा ४ अर्ब ८२ करोड ६४ लाख मात्र खर्चिएको हो ।
अहिलेसम्म सरकारको कुल पुँजीगत खर्च १ खर्ब ४८ अर्ब ५० करोड मात्र गरेको छ । यो कुल विनियोजित बजेटको ४९.१६ प्रतिशत हो । यस वर्ष सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब बजेट छुट्याएको थियो । बजेट भाषणका क्रममा ठूल्ठूला कुरा गरे पनि यसको कार्यान्वयनमा ध्यान नदिने प्रवृत्तिले यस्ता समस्या दोहोरिरहने अर्थविद् डिल्लीराज खनाल बताउँछन् । ‘आर्थिक वर्षको सुरुवातमै काम हुँदैन, अन्तिम समयमा काम गरेर मनपरी रूपमा खर्च गर्ने प्रवृत्ति छ, यसमा कहिल्यै सुधार हुन सकेन,’ उनले भने, ‘यसरी हतारमा गरिएको कामको न गुणस्तर हुन्छ न बजेट खर्चको सदुपयोग हुन्छ ।’
गुणस्तरमा ध्यान नदिई बजेट सक्ने हतारोले गर्दा राम्रो विकासको परिकल्पना गर्न नसकिने खनालको भनाइ छ । ‘फेरि अन्तिम समयमा आएर व्यापक रकमान्तर गर्ने प्रवृत्ति छ,’ उनले भने, ‘जबसम्म पूरै बजेटरी प्रणालीमा सुधार गरिँदैन, यस्ता समस्या आइरहन्छन् ।’ परिणाम देखिने गरी काम गर्न आवश्यक रहेको उनको सुझाव छ ।

अर्थ वाणिज्य

छिचोलियो लेनडाँडा सुरुङ

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– काठमाडौं–तराई/ मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ को लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६ सय १२ मिटर लम्बाइको सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।

प्रधानसेनापति महारथी प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोलिएको अवलोकन गरेको सेनाले जनाएको छ । उक्त कार्यक्रममा प्रधानसेनापतिले तोकिएको समयमै सुरुङमार्ग छिचोलिने क्रम रहेको भन्दै खुसी व्यक्त गरे । गत जेठ ४ मा लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो । जेठ ११ मा निजगढबाट काठमाडौंतर्फ आउने धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६ सय ५३ मिटर लम्बाइका सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ ।

Page 8
अर्थ वाणिज्य

युगान्डाबाट सात करोडको एभोकाडो आयात

- कान्तिपुर संवाददाता

(काठमाडौं)
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म युगान्डाबाट ७ करोड ८६ लाख ८० हजार रुपैयाँ बराबरको १ लाख ७७ हजार २ सय ६ किलो एभोकाडो आयात भएको छ । यसबाट ११ महिनामा २ करोड ५२ लाख ७२ हजार रुपैयाँ राजस्व उठेको भन्सार विभागको तथ्यांक छ । यसअनुसार आयात गरिएको एभोकाडोको मूल्य प्रतिकिलो ५ सय ८७ पर्छ ।
भाटभटेनीको अनामनगर शाखामा गत मंगलबार प्रतिकिलो ६ सय ८६ रुपैयाँमा एभोकाडो बिक्री भइरहेको थियो । सोही दिन बिगमार्टको शान्तिनगरमा आयातित एभोकाडो प्रतिकिलो ७ सय ४० रुपैयाँ र स्थानीय एभोकाडोको प्रतिकिलो ४ सय २० रुपैयाँमा बिक्री भएको थियो । ‘अनलाइन तरकारी पसल’ मा प्रतिकिलो ७ सय ९९ रुपैयाँ थियो । अन्य फलफूल पसलमा ६ सय रुपैयाँभन्दा बढी थियो ।
सिजन नभएकाले बजारमा पाइने आयातित एभोकाडोको मूल्य ६ सय रुपैयाँभन्दा बढी छ । नेपालमा एभोकाडो साउनदेखि मंसिरसम्म टिप्ने गरिए पनि मुख्य सिजन भदौ र असोज हो । पर्याप्त मात्रामा स्वास्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएका एभोकाडो खानुका थुप्रै फाइदा रहेको समशीतोष्ण बागवानी केन्द्रद्वारा जारी ‘व्यावसायिक एभोकाडो उत्पादन प्रविधि’ पुस्तकमा उल्लेख छ ।
धनकुटाबाट व्यावसायिक खेती सुरु भएको एभोकाडो अहिले देशका अन्य भागमा पनि विस्तार भइसकेको छ । अहिले धनकुटामा झन्डै ७ हजार जनाले एभोकाडोको व्यावसायिक खेती गरिरहेका छन् भने झन्डै ३ सय जनाले यसको नर्सरी चलाउँदै आएका छन् । समशीतोष्ण बागवानी केन्द्रद्वारा जारी ‘व्यावसायिक एभोकाडो उत्पादन प्रविधि’ पुस्तकअनुसार एभोकाडोको नेपालमा व्यावसायिक खेती केही वर्षअघि सुरु भएको हो । ०३५ सालतिर कीर्तिपुर, त्रिशूली, सर्लाही बागवानी फार्महरूमा हास, फुर्टे, इटिन्जर, रिड र टोपाटोपा गरी पाँच जातका एभोकाडो भित्र्याइएको पुस्तकमा उल्लेख छ ।
०२८ सालमा पाख्रिबास कृषि अनुसन्धान केन्द्रको स्थापनापछि पर्यटक तथा कर्मचारीहरूले खान संयुक्त राज्य (यूके) बाट केही फल ल्याइएको जनाएको छ । यसरी विभिन्न समयमा नेपालीहरू विभिन्न ठाउँमा जाँदा ल्याएको जातहरूको विविधता काठमाडौंसहित मुख्य सहरका हरेक घरका करेसाबारीमा मनग्य देख्न पाइनेसमेत पुस्तकमा छ । सबैभन्दा बढी एभोकाडो खेती हुने हुँदा ०७५ सालमा धनकुटालाई ‘एभोकाडो’ को राजधानीसमेत घोषणा गरिएको छ । तर अझै पर्याप्त मात्रामा एभोकाडोको जात, रोगका उपचारका बारेमा अध्ययन हुन नसकेको किसान बताउँछन् । एभोकाडोको बजार काठमाडौं, पोखरा, चितवनलगायत क्षेत्र हुन् ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार अघिल्लो आर्थिक वर्ष जिल्लामा १३० हेक्टर क्षेत्रफलमा खेती गरिएकामध्ये २३ हेक्टर मात्रै उत्पादनशील क्षेत्रफल थियो । त्यसबाट २६० टन एभोकाडो उत्पादन भएको थियो । गत आर्थिक वर्ष १३२ हेक्टर जग्गामा एभोकाडो खेती गरिएको केन्द्रले जनाएको छ । मुलुकमा सबैभन्दा बढी एभोकाडो युगान्डाबाट आयात हुन्छ । भारत, केन्या, मेक्सिकोबाट पनि एभोकाडो आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।
आर्थिक वर्ष ०७७/७८ मा मुलुकमा भारत, केन्या र युगान्डाबाट ३ करोड ५ लाख रुपैयाँ बराबरको १ लाख १३ हजार ७ सय ५८ किलो एभोकाडो आयात भएको थियो । आर्थिक वर्ष ०७८/७९ केन्या, मेक्सिको, युगान्डाबाट ८ करोड १ लाख ४९ हजार रुपैयाँ बराबरको २ लाख ८४ हजार २ सय ५९ किलो आयात गरिएको थियो । गत आर्थिक वर्ष केन्या र युगान्डाबाट ९ करोड ४५ लाख ७८ हजार रुपैयाँ बराबरको २ लाख ५८ हजार ६ सय २८ किलो एभोकाडो आयात गरिएको थियो ।

अर्थ वाणिज्य

काठमाडौंका मेयर र वडाध्यक्षको विवादले अन्योलमा नगरसभा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र वडाध्यक्षहरूबीचको विवादले महानगरको नगरसभा अन्योलमा परेको छ । गत शुक्रबार बिहान ८ बजे बोलाइएको १५औं अधिवेशनको चौथो नगरसभा स्थगन भएयता कहिले बैठक बस्ने टुंगो भएको छैन ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबारसम्म पनि बैठक बस्ने कुनै खबर नपाएको बताए । ‘नगरसभा बैठकको विषयमा मलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘नगरसभा बोलाउने मेयर सापले मात्र हो । उहाँलाई नसोधी भन्न सकिन्न । सभा बस्नलाई छलफल पनि भएको छैन ।’ अहिलेसम्म सहमतिमा जान नसकेको विषयमा मेयर शाहले प्रस्तावका रूपमा ल्याइसकेपछि मात्र सहज ढंगबाट अगाडि बढ्ने उनले सुनाए । मेयरको सचिवालयले आउँदो साताभित्र नगरसभा बैठक बस्नलाई तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौं महानगरपालिका, नगरसभा सञ्चालन कार्यविधि, ०७४ अनुसार बजेट र नीति तथा कार्यक्रम अब सहमतिबाटै असारभित्रै पास गरेर लैजानुपर्ने अवस्था रहेको मेयरको सचिवालय बताउँछ । कार्यविधिअनुसार अधिवेशनको गणपूरक संख्या नपुगे दुई दिनभित्र अर्को अधिवेशन बस्ने गरी सूचना गर्नुपर्नेछ । तर उक्त समयभित्र अधिवेशन नबसे २५ प्रतिशत नगरसभा सदस्यको उपस्थितिमा अधिवेशन बस्नेछ ।
काठमाडौंका मेयर र वडाध्यक्षबीच विभिन्न संघसंस्थालाई अनुदान उपलब्ध गराउने कि नगराउने विषयमा विवाद भइरहेको छ । यी संघसंस्थाको विषयमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखा परीक्षण प्रतिवेदनले समेत समीक्षा एवं पुनरावलोकन गरिनुपर्ने उल्लेख गरेको छ । महालेखाले प्रश्न उठाएको विषयमा भने मेयर शाह कुनै पनि सहमति गर्न तयार नरहेको मेयर सचिवालयको भनाइ छ ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


शून्य प्रतिशतमा हुन्डाईको ॅकोना’
काठमाडौं (कास)– नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी ‘कोना’ शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमा पाँच वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा गाडी खरिद गर्न सक्नेछन् । यो गाडी दुई वटा भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ‘कोना जीएल’ को मूल्य ५९ लाख ९६ हजार र ‘कोना जीएलएस’ को मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ । हुन्डाईको कोनामा सुरक्षाका लागि ३९.२ किलोवाट आवरको ब्याट्री छ । एक पटकको चार्जमा कोना ३०५ किलोमिटरसम्म कुदाउन मिल्ने र सय वाटको छिटो चार्ज हुने विशेषता रहेको कम्पनीले जनाएको छ ।
ग्लोबल, भूमि र डेभलपर्सबीच हरित आवास कर्जा समझदारी
काठमाडौं (कास)– ग्लोबल आईएमई बैंक, भूमि डेभलपर्स र प्यासिफिक डेभलपर्सबीच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका सञ्चालक बैंकटेस मुन्दराले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले भूमि डेभलपर्स र प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ । बैंकले भूमि र प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरणमैत्री आवासीय घर खरिद गर्न सहज कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउने बताएको छ ।
टीभीएसको ॅदोस्रो कल्ट राइड’ सम्पन्न
काठमाडौं (कास)– टीभीएस मोटर नेफालको आधिकारिक वित्रेता जगदम्बा मोटर्सले बिहीबार ‘दोस्रो कल्ट राइड’ सम्पन्न गरेको छ । आफ्ना ग्राहकका लागि जगदम्बाले दोस्रो वार्षिकोत्सवका अवसरमा कल्ट राइड आयोजना गरेको थियो । उक्त राइड ज्ञानेश्वरबाट सुरु भई बूढानीलकण्ठमा समापन गरिएको कम्पनीले जानकारी दिएको छ । यो राइडमा विविध क्षेत्रका २३ देखि ५५ वर्षका ६० जना राइडरले सहभागिता जनाएका थिए ।

Page 9
Page 10
खेलकुद

जर्मनीले स्पेनसँग बदला लिन सक्ला ?

- कान्तिपुर संवाददाता

 

बर्लिन (रोयटर्स)– जर्मनीले यस युरोको पहिलो क्वाटरफाइनलमा शुक्रबार उपाधिको अर्को दाबेदार स्पेनको सामना गर्नेछ । यो खेलमा जर्मनीको एउटै उद्देश्य रहनेछ, सन् १९८८ यता स्पेनलाई हराउन नसकेको क्रममा पूर्णविराम दिने । अहिले जर्मनी आठ वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा खुसीको समयबाट गुज्रिइरहेको छ । समर्थकको चाहना होस्, जर्मनीले नै घरेलु मैदानमा उपाधि जितोस् । प्रतियोगिताकै दुई ठूला टिमका भिडन्तमा हारसँगै प्रतियोगिताबाट बाहिरिने डर पनि उत्तिकै हुनेछ ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनसँग लामिन यमलसँगै निको विलियम्स जस्ता युवा खेलाडी रहेका छन् । उनीहरूले स्पेनी आक्रमणको जिम्मेवारी उठाइरहेका छन् । यो विपक्षी टिमका लागि टाउको दुखाइ हुने गरेको छ । उनीहरूले बुन्ने गरेको आक्रमणमा सटिकता त छ । त्यसमा गति पनि उत्तिकै छ । अहिले स्पेनको आक्रमणको निर्देशन फाबिन रुजजस्ता खेलाडी गरिरहेका छन्, जसको मूल मन्त्र छ, बलमाथि बढी नियन्त्रण त्यो पनि उद्देश्यसहित ।
त्यसैले अचेल स्पेनले खेलमाथि बढीभन्दा बढी समयमात्र नियन्त्रण लिने प्रयास गर्दैन, बललाई लगातार अगाडि बढाउने प्रयास गर्छ । स्पेन अन्तिम १६ को खेलमा जर्जियामाथि ४–१ ले विजयी रहेको थियो । प्रतियोगितामा स्पेनको यो चौथो खेलमा लगातार जित हो । सम्भवतः चौथोपल्ट युरो जित्ने सपना पनि साकार हुन सक्नेछ । जर्मनीले पनि चारपल्ट युरो जितेको छ । डेनमार्कविरुद्ध अन्तिम १६ मा जर्मनीले जितका लागि कडा मिहिनेत गर्नुपरेको थियो ।
यस्तै समूह चरणमा स्विट्जरल्यान्डविरुद्धको खेल पनि सजिलो रहेन । त्यसैले सम्भवतः खेलको निर्णय यो तथ्यमा हुनेछ, स्पेनको आक्रमणलाई बलियो जर्मन डिफेन्सले कसरी लिनेछ । जर्मनीले स्पेनको सामना गर्दा आफ्नो रक्षापंक्ति अझ मजबुत बनाउने प्रयास पनि गर्नेछ । जर्मन कप्तान इल्काये गुन्डोगन भन्छन्, ‘स्पेनविरुद्ध दबेर खेल्नु ठीक हुन्न । हामी एउटा टिमका रूपमा स्पेनसँग कडा प्रतिस्पर्धा गर्न सक्छौं । हाम्रो टिम स्तरीयताको आधारमा बलियो नै छ ।’
उनी थप्छन्, ‘स्पेन जर्मन टिमलाई धेरै नै सम्मान गर्छ, तर सार्वजनिक रूपमा भन्न भने सक्दैन ।’ जर्मनीका लागि इतिहाससँग एउटा के समस्या छ भने टोलीले स्पेनलाई युरोमा नहराएको ३६ वर्ष भइसकेको छ । जर्मनीले अन्तिम पटक स्पेनलाई सन् १९८८ को युरोमा हराएको थियो । जर्मनीलाई सन् २०१० को सेमिफाइनल र सन् २००८ को फाइनलमा हराउने टिम स्पेन नै हो । अझ स्पेनले चार वर्षअगाडि नेसन्स लिगमा जर्मनीलाई ६–० ले हराएको थियो ।
स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे भन्छन्, ‘हामी कोही सबैलाई आघात पुर्‍याउन चाहँदैनौं । तर हामी नै यस युरोको सबैभन्दा राम्रो टिम हो । हामीले यो प्रतिष्ठा कायम राख्न कडा मिहिनेत गर्नेछौं । हाम्रो अगाडि कस्तो चुनौती छ, त्यो हामीलाई राम्रोसँग थाहा छ । जर्मनीविरुद्धको खेल तगडा हुनेछ, यसमा दुईमत छैन । तर, हामी आफ्नो खेललाई लिएर असाध्यै आत्मविश्वासी छौं ।’

खेलकुद

फ्रान्स–पोर्चुगल, दुवैको आक्रमण चम्किनुपर्ने

- कान्तिपुर संवाददाता


ह्याम्बर्ग (रोयटर्स)– जतिबेला युरो २०२४ को क्वाटरफाइनलमा शुक्रबार फ्रान्स र पोर्चुगल एक आपसमा भिड्नेछन्, त्यसमा दुवै टिमको आक्रमण अझ चम्किनुपर्नेछ । किनभने यी दुई जत्तिको टिम भिड्दा आक्रमणमा अलिकति चनाखोले धेरै अर्थ राख्ने हुन्छ ।
यो युरोमा दुई टिमबीचको तेस्रो भिडन्त हुनेछ । त्यसअगाडि उनीहरूमध्ये एकको अगाडि हुनेछ स्पेन वा जर्मनी । सेमिफाइनल अर्को साता छ । दुवैलाई राम्रोसँग थाहा छ, आफूहरूको आक्रमण गतिलो हुन सकेको छैन ।
फ्रान्सले पछिल्ला ५ खेलमा ओपन प्लेसबाट गोल गर्न सकेको छैन । त्यसमध्ये चार खेल त यही युरोकै छ । पोर्चुगलले पनि यसपल्टको युरोका पछिल्ला दुई खेलमा कुनै गोल गर्न सकेको छैन । पोर्चुगललाई अन्तिम आठको यात्रा तय गर्न पेनाल्टी शुटआउट आवश्यक परेको थियो । दुवै टिममा स्तरको भने कुनै कमी छैन । यो पनि सबैलाई थाहा छ । जहाँ फ्रान्सको आक्रमण कप्तान केलियन एमबाप्पेले नेतृत्व गर्नेछन् । त्यहीं क्रिस्टियानो रोनाल्डो चाहन्छन्, आफ्नो नेतृत्वमा कीर्तिमान बनोस् ।
तर, दुवैलाई समस्या छ । एमबाप्पेलाई नाकमा लागेको चोटले दुःख दिइरहेको छ भने रोनाल्डो ३९ वर्षका भइसके । अब उनी पहिलोको जस्तो खेलाडी रहेनन् । स्लोभानियाविरुद्धको पछिल्लो खेलमा रोनाल्डो अतिरिक्त समयमा पेनाल्टीबाट गोल गर्न पनि चुकेका थिए । यही असफलताले गर्दा उनले आफूलाई भावनात्मक रूपमा रोक्न सकेका थिएनन् । कम्तीमा टाइब्रेकरमा भने उनी सफल रहे । यसका लागि पहिलो पेनाल्टी लिएर उनले आफ्नो बहादुरी देखाए ।
पोर्चुगलको यहाँसम्मको यात्राका लागि गोलरक्षक डिएगो कोस्टालाई धन्यवाद भने दिर्नैपर्ने हुन्छ । उनले स्लोभानियाका तीनै पेनाल्टी प्रहार गोल हुन दिएका थिएनन् । यही युरोमा पनि रोनाल्डो विपक्षी पोस्टमा सबैभन्दा बढी आक्रमण गर्ने खेलाडी हुन् । तर उनले ठूला प्रतियोगिताका पछिल्ला ८ खेलमा कुनै गोल गर्न सकेका छैनन् । समूह चरणमा पोर्चुगलले समूह ‘एफ’ जितेको थियो । जर्जियाविरुद्धका हारमा आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको थियो ।
यस युरोमा एमबाप्पेले भने एक गोल गरेका छन् । यो पेनाल्टीबाट भएको गोल थियो । त्यसअगाडि उनी अस्ट्रियाविरुद्धको खेलमा चोटग्रस्त भएका थिए । फ्रान्सले यसपल्ट गरेका दुई अन्य गोल भने विपक्षी टिमले दिएको उपहार नै रहेको छ, आत्मघाती गोलका रूपमा । यो सबै पृष्ठभूमिमा दुवै टिमबीचको यो खेल लामो समय चल्न सक्नेछ । सम्भवतः पेनाल्टी शुटआउटसम्म ।

खेलकुद

अन्तिम आठ चरणका विशेषता

- कान्तिपुर संवाददाता

 

स्टुटगार्ट (एएफपी)– युरो च्याम्पियनसिप शुक्रबार क्वाटरफाइनल चरणमा प्रवेश गर्दै छ । निर्णायक साबित हुने अबको एक साताको पहिलो ठूलो खेल छ, आयोजक जर्मनीविरुद्ध स्पेन । लगत्तै फ्रान्सविरुद्ध पोर्चुगल । यसबीच अन्तिम आठका खेलको विशेषता कस्तो रह्यो त ? अब यसबारे विश्लेषण ः

ठूला टिमको भिडन्त
जर्मनी र स्पेन यस प्रतियोगितामा राम्रो गरिरहेका केही टिममा पर्छन् । यिनै दुई टिमबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ । सम्भवतः उनीहरूको भेट अलिकति चाँडै भएको छ । यसको एउटा ठूलो कारण असन्तुलित खेल समीकरण नै हो । उपाधिका चार बलिया टिम एकै छेउमा रहे । यो खेल विजेताले अर्को ठूलो भिडन्तमा उम्कने टिमविरुद्ध गर्नेछ । त्यो भनेको फ्रान्स वा पोर्चुगल । अर्कोतर्फ इंग्ल्यान्डले
स्विट्जरल्यान्डको सामना गर्नेछ भने नेदरल्यान्ड्सले भेट टर्कीविरुद्ध । यो छेउ भने अलिकति सजिलो देखिन्छ । अथवा भनौं, यसमा सबै ठूला टिम छैनन् ।

ठूला नामको असफलता
यस युरो खेल्न विश्व फुटबलका केही ठूला नाम जर्मनी आएका थिए । तर, स्पेन र जर्मनीलाई अपवाद मान्ने हो भने अन्य सबै आफ्नो अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल नै रहेका छन् । क्रिस्टियानो रोनाल्डोले सायद यो प्रतियोगिता नखेले हुन्थ्यो वा केलियन एमबाप्पेले आफ्नो नाम र प्रतिष्ठाअनुसार प्रदर्शन गर्न सकेनन् । एमबाप्पेले पछिल्लो विश्वकपमा गोल्डेन बुट अवार्ड जितेका थिए । यसपल्ट उनी त्यसको छेउछाउ छैनन् । इंग्ल्यान्डको आक्रमण जोडीमध्ये ह्यारी केन बुन्डेसलिगाको पछिल्लो सिजनमा सर्वाधिक गोलकर्ता थिए । जुड बेलिङ्घम भने स्पेनी ला लिगाकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । क्लबको जस्तै लय उनीहरूले आफ्नो देशका लागि समात्न सकेनन् ।

युवा र पाका खेलाडी
उमेरका आधारमा युरोमा नयाँ कीर्तिमान बनेको छ । त्यो पनि दुवैतर्फ । यो कसरी भन्दा स्पेनी विङ्गर लामिन यमल १६ वर्षका भए । उनी युरो खेल्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी हुन् । अबका खेलमा उनले गोल गर्न सके उनी युरोमा गोल गर्ने सबैभन्दा कान्छा उमेरका खेलाडी हुनेछन् । यसको ठीक विपरीत क्रोएसियाका लुका मोड्रिचले ३८ वर्षको उमेरमा गोल गरेर कीर्तिमान राखे । यसलाई उछिन्ने अवसर ३९ वर्षीय रोनाल्डोको भाग्यमा छ । पोर्चुगलका पेपे त ४१ वर्षका भए । उनी युरो खेल्ने सबैभन्दा पाका खेलाडी हुन् ।

आत्मघाती गोलको जगजगी
ठूला नामले गोल गर्न नसके पनि के भयो र । आत्मघाती गोल त भएकै छ । अहिलेसम्म अन्तिम १६ भित्र ९ आत्मघाती गोल भएको छ । तीन वर्षअगाडिको युरोमा ११ आत्मघाती गोल भएको थियो । के यसपल्ट आत्मघाती गोलले त्यागे प्रदर्शन उछिन्ने छ त ? युरो २०२० अगाडि पूरा प्रतियोगिता इतिहासमा ११ आत्मघाती गोल मात्रै भएका थिए । युरोपेली फुटबल महासंघ (यूईएफए) कति आत्मघाती गोल बढी भयो भनेर खोजनीति गर्दै छ । तर सबै कुरा आत्मघाती गोलकै मात्र पनि होइन । रक्षापंक्तिले उत्तिकै गोलको अवसर असफल पनि तुल्याएको छ । अनि आहा भन्नलायक गोल नभएको पनि होइनन् ।

ॅअन्डरडग’ चम्केको अवसर
फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र पोर्चुगल फिफा वरीयताको शीर्षस्थानमा रहेका टिम हुन् । उनीहरूमध्ये कसैले पनि राम्रो गर्न सकेको छैनन् । बरू उनीहरूको प्रदर्शनअगाकडि केही अन्डरडग टिमको प्रदर्शन प्रशंसनीय रहेको छ । प्रतियोगिताकै सबैभन्दा कम वरीयताको टिम भएता पनि जर्जिया अन्तिम १६ मा पुग्न सफल रह्यो । पोर्चुगलमाथि टोलीले प्राप्त गरेको जितलाई त लामो समय बिर्सिने छैन । युरो सुरु हुनुअगाडि रोमानियाले १६ खेलमध्ये एकैमा मात्र जित निकालेको थियो ।
तर, यही टिमले त्यो समूह जित्यो, जसमा बेल्जियम, युक्रेन र स्लोभाकिया थिए । अन्तिम १६ मा भने यो टिम नेरदरल्यान्ड्सँग पराजित भयो । त्यो पनि बलियो चुनौती पेस गरेर । टर्की यस प्रतियोगिताका वास्तविक डार्कहर्स साबित भएको छ । अस्ट्रियाविरुद्ध टोलीको अन्तिम १६ को खेलमा प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट प्रतिस्पर्धा देख्न पाइयो ।