पहाडमा पहिरो, तराईमा बाढी
निरन्तरको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी शनिबार ९ जनाको मृत्यु हुनुका साथै देशभरको जनजीवन प्रभावित भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–६ स्याङ्दी माझकोटमा पहिरोले पुरिएर शनिबार बिहान एकै घरका तीन जनाको निधन भएको छ ।
पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा शनिबार नै आएको पहिरोले घर पुरिँदा दुई जना तथा तनहुँको ऋषिङ गाउँपालिका–१ झापुदारमा पनि पहिरोका कारण थप दुई जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार दिउँसो गएको पहिरोमा परी थप एक जना तथा दाङको राजपुर गाउँपालिका–५ सालभौंरीस्थित गंगदी खोलामा बाढीले ट्र्याक्टर पल्टिँदा अर्का एक जनाको मृत्यु भएको हो ।
बिहीबारदेखिको झरीले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढीपहिरोले जनधनको व्यापक क्षति भएको छ । उपत्यकासहित विभिन्न जिल्लामा पहिरो र डुबानले दर्जनौं परिवार विस्थापित भएका छन् । कर्णाली, गण्डकी, वाग्मती, लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन अलपत्र छन् ।
शुक्रबारदेखि परेको वर्षासँगै गएको पहिरोले पुरिएर काठमाडौंको नागार्जुन नगरपालिका–३ मा एक रेस्टुरेन्टको भान्साघर पुरिँदा गोरखा सहिद लखन थापा गाउँपालिका–६ का मनोज विकको मृत्यु भएको छ । भारी वर्षासँगै उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, मनोहरा तथा हनुमन्ते खोलामा जलसतह बढ्दा तटीय क्षेत्रका सडक, बस्ती र बजार डुबानमा परेका छन् । वाग्मतीको बाढी पस्दा बल्खुको सुकुम्बासी बस्ती र तरकारी बजार डुबानमा परेका छन् भने करिडोरमा समेत बाढी पसेर दिनभरजसो सडक अवरुद्ध रह्यो ।
मनोहरा खोलाको बाढीले डेढ दर्जन बढी टहरा डुबानमा पर्दा स्थानीय विस्थापित भएको भक्तपुर प्रहरीले जनाएको छ । ललितपुरको च्यालसस्थित एमाले पार्टी कार्यालय र च्यासल रंगशालाभित्र बाढी पसेको छ । काठमाडौंकै तारकेश्वर नगरपालिका–३ जितपुरफेदीमा पहिरोले एकतले घरमा क्षति पुगेको छ भने काठमाडौं–२९ घट्टेकुलोमा करिब एक मिटर सडक भासिएको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उपत्यकाभित्रका खोला करिडोरमा जलस्तरको निगरानी सँगै सतर्कता अपनाउन आग्रह गरिँदै आएको छ ।
गण्डकीमा ८ को मृत्यु, दुई बेपत्ता
अविरल वर्षासँगै खसेको पहिरोले गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा र पर्वतमा शनिबार मात्रै ८ जनाको निधन भएको छ । पहिरोमा पुरिएका दुई जना अझै बेपत्ता छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार दिउँसो गएको पहिरोले हिरा नेपाली र सुनमाया कुमालको घर सोहोर्दा ४० वर्षीया हिराको निधन भएको छ । दिउँसो बेपत्ता भएकी हिराको शव साँझ मात्रै फेला परेको थियो । छिमेकी ३७ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी अझै बेपत्ता छन् । पहिरोमा परेर ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रूपकुमार नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको गण्डकी प्रदेश प्रहरी प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीले बताए । घाइतेको जीपी अस्पताल खैरेनीटारमा उपचार भइरहेको छ ।
शनिबार बिहान स्याङ्जाको बिरुवा गाउँपालिका–६ स्याङ्दी माझकोटमा पहिरोले पुरिएर एकै घरका तीन जनाको निधन भएको छ । पहिरोले २ कोठे घर पुरिँदा ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनकी श्रीमती ६७ वर्षीया हरिमाया शर्माको निधन भएको हो । शनिबार दिउँसो पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटास्थित कुलप्रसाद पाध्यायको २ तले कच्ची घर पहिरोले पुरिँदा दुई जनाको निधन भएको छ । उक्त पहिरोमा परी बेपत्ता भएका कार्कीनेटाका ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका–३ पाखरीगोर ढुंगा बस्ने ३२ वर्षीय तुलसीप्रसाद शर्माको जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मृत भेटिएका थिए । तुलसीप्रसादको शव घरभन्दा तीन सय मिटर तल र झलकप्रसादको शव स्याङ्जापट्टी आँधीखोला–४ सेपतमा फेला परेको थियो ।
पहिरोसँगै आएको ढुंगा लागेर तनहुँको ऋषिङ गाउँपालिका–१ झापुदारमा निर्माणाधीन तनहुँ हाइड्रोपावरको सुरुङ मार्गमा काम गरिरहेका ५० वर्षीय कृष्णबहादुर पुलामी र लमजुङ सुन्दरबजारका ५१ वर्षीय समलाल श्रेष्ठको निधन भएको छ । शनिबार नै पर्वतको महाशिला गाउँपालिका ठाडापाखामा पहिरोले गोठ र धन्सार बगाउँदा रुक्मागत अधिकारीको १३ बाख्रा, एउटा भैंसी र एक पाडो मरेको छ । स्थानीय केशवप्रसाद अधिकारी क्षेत्रीको २ तले कच्ची घर र गोठसमेत पहिरोले बगाएको छ । सेती नदीमा पानीको सतह बढ्दा पोखरास्थित नदी किनारका बस्ती जोखिममा परेका छन् । पोखरा–३३ पशुपति घाटको सुकुम्बासी टोलमा सेतीको बहाव बढ्दा २७ घर जोखिमा परेपछि सुरक्षित स्थानान्तर गरिएको कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले बताए । शनिबार दिनभर पोखरा भित्रिने राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भयो । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको तनहुँस्थित आँबुखैरेनी गाउँपालिका–२ मा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । तनहुँकै म्याग्दे गाउँपालिका–६ मौरीमा पनि पहिरो खस्दा राजमार्ग अवरुद्ध भयो । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका–१० मोदीखोला, पर्वतको कुस्मा नगरपालिका–१ स्थित मालढुंगा–बेनी सडक, बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पहिरो जाँदा यातायात अवरुद्ध भएको थियो ।
नारायणीमा एक बेपत्ता, गण्डक ब्यारेजका सबै ढोका खोलिए
उर्लिएको नारायणीमा दाउरा निकाल्न गएका पश्चिम नवलपरासीको सुस्ता–५ सकरदिनइका ३३ वर्षीय अर्जुन चमार बगेर बेपत्ता भएका छन् । नारायणीको पानी सतह खतरानजिक पुगेपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएका छन् । ब्यारेजका भूआर्जन अधिकारी काशीनाथ हरिजनका अनुसार शनिबार साँझ ब्यारेजमा २ लाख ९० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानी खतराको सूचक मानिन्छ । देवघाटमा नारायणीको सतह चेतावनीको तह पार गरेपछि स्थानीय प्रशासनले चितवन, पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२ बोटेटोलमा नारायणीको बाढी पस्दा २५ घर डुबानमा परेका छन् । पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलका अनुसार डुबान पीडितलाई टोल सुधार समितिको भवनमा राखिएको छ । यस्तै केरुंगे खोलाको बाढीले हुप्सेकोट गाउँपालिका–४ मा २५ बिघा खेतीयोग्य जमिन कटान गरेको छ ।
दाङमा बाढीले एकको मृत्यु, दुई बेपत्ता
दाङको राजपुर गाउँपालिका–५ सालभौंरीस्थित गंगदी खोलामा बाढीले ट्र्याक्टर पल्टिँदा स्थानीय ५१ वर्षीय छेदुराम चौधरीको मृत्यु भएको छ । दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार ट्र्याक्टरमा सवार स्थानीय २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय महेश यादव घाइते भएका छन् । राप्ती नदीको बाढीले बगाएर दुई जना बेपत्ता भएका छन् । राजपुर–२ का ३४ वर्षीय दयाराम यादव र ४८ वर्षीय तुलाराम यादव रुखमा चढेर बचेका थिए भने १८ वर्षीय राजकुमार यादव बेपत्ता भएका हुन् । यसैगरी राप्तीमा बगेर लमही–८ बगरापुरका ६२ वर्षीय मनियम चौधरी बेपत्ता भएका छन् । राप्तीको बहाव बढेर आसपासका गाउँ डुबानमा परेका छन् । विभिन्न खोलामा आएको बाढीले स्थानीय सडक पनि अवरुद्ध भएका छन् । बाढीका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयसहित आर्थिक मामिला तथा योजना, सामाजिक विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि डुबानमा परेका छन् ।
उता गुल्मीको रुरुक्षेत्र–३ थोर्गाको ठाँटीमा पहिरोले घरसँगै पुरिएकी उजेली विकको स्थानीयले उद्धार गरेका छन् । गुल्मीमै पहिरोका कारण मदन भण्डारी राजमार्ग, बामीटक्सार रिडी सडक, रिडी तानसेन खण्डका दर्जनौं स्थानमा पहिरो गएपछि शुक्रबार रातिदेखि नै यातायात अवरुद्ध छ । बामीटक्सार रुद्रवेणी खण्डमा डहरे खोला बढेपछि सवारीसाधन सडकमै अलपत्र छन् । पहिरोले कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग पनि अवरुद्ध भएको छ । गुल्मीका बडीघाट, रिडीखोला, छल्दीखोला, हुग्दीखोलामा पानीको सतह पछिल्लो १० वर्षयताकै बढी छ । पाल्पाको पर्यटकीय स्थल रानीमहल डुबानमा परेको छ । सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डमा पनि दर्जनौं स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । त्यस्तै अर्घाखाँचीको सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ । वर्षा नरोकिएका कारण समयमै सडक खुलाउन समस्या परिरहेको सम्बन्धित सडक डिभिजन कार्यालयले जनाएका छन् ।
सेतीले १४ परिवार विस्थापित
सेती नदीको बाढीले बझाङ थलारा गाउँपालिका–९ झ्याँबगर बस्ती दुई भँगालोको बीचमा पर्दा १४ परिवार विस्थापित भएका छन् । ‘गाउँको बीचमा भँगालो पसेपछि बिहानै गाउँ छोडेका छौं,’ थलारा–९ का वडाध्यक्ष लोकेन्द्र विष्टले भने, ‘नदीको सतह बढेको बढ्यै छ । जुनसुकै बेला पनि बस्ती बगाउन सक्ने खतरा छ ।’ पानीको बहाव बढेपछि मानिस र चौपाया जोगाउन सफल भए पनि घरभित्रका सामान जोगाउन नसकेको जनप्रिय माध्यमिक विद्यालयका शिक्षक नवीनबहादुर विष्टले बताए । ‘मान्छे र गाईबाख्रालाई तार्दातार्दै घरहरू डुबाइहाल्यो,’ उनले भने, ‘टापुमा अड्किएका मान्छेलाई बल्लबल्ल तार्न सक्यौं । घरभित्रको मालसामान केही ल्याउन पाएनौं ।’ बिहीबारदेखिको वर्षाका कारण सेतीको जलस्तर खतराको तहमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन गर्ने वेबसाइटले सेतीको जलसतह बढेर ४.२९ मिटर पुगेको जनाएको छ । शुक्रबारसम्म तीन मिटर हाराहारी रहेको सेतीको जलसतह शनिबार साँझसम्म निरन्तर बढिरहेको छ । सेतीकै बाढीले केदारस्युँको पथुडामा दुई वटा पोल बगाउँदा बझाङमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।
महाकाली नदीमा शनिबार साँझ जलस्तर १ लाख २१ हजार क्युसेक पगुेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन आवगमनमा रोक लगाएको छ । कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीका अनुसार महाकालीमा १ लाख क्युसेक बहाव नाघ्दा ठूला सवारीसाधन चल्न रोक लगाइन्छ ।
रोल्वालिङ खोलामा १ बेपत्ता, माथिल्लो तामाकोशीको उत्पादन बन्द
शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले बगाउँदा दोलखाको गौरीशंकर गाउँपालिका–९ डोगाङमा स्थानीय ६५ वर्षीय जाङमु शेर्पा बेपत्ता भएकी छन् । डोगाङमा पर्यटकका लागि खुलेका साना होटलसहित ३ घर बाढीले बगाएको छ । तामाकोशीको सतह सतर्कता पार भएपछि शुक्रबार रातिबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको उत्पादन बन्द गरिएको छ । सामान्यतया ६६ घनमिटर पानी बग्ने तामाकोशीको जलसतह शुक्रबार राति २ सय ८५ घनमिटर पुगेको थियो । बाढीले विद्युत्गृह रहेको गोगरमा सडक, विद्युत् केन्द्रको टेलरेसका संरचना र ३३ केभी प्रसारण लाइनका पोलमा क्षति गरेको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले बताए । उता लमजुङमा मर्स्याङ्दी नदीको बाढीका कारण ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाको पनि विद्युत् उत्पादन बन्द भएको छ । मस्याङ्दी–७ ङादीमा रहेको ड्याममा क्षति पुग्ने भन्दै उत्पादन बन्द गरेर बाढीलाई नदीको धारमा बग्न दिएको हो ।
कर्णालीमा ५ दिनदेखि उडान ठप्प, सबै राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण कर्णालीका सबै हिमाली जिल्लामा हवाई सेवा ठप्प भएको छ भने कर्णाली, मध्यपहाडी, मदन भण्डारी र राप्ती राजमार्ग तथा भेरी र कर्णाली करिडोर अवरुद्ध भएका छन् । वर्षाका कारण कर्णाली राजमार्गमा ११, मध्यपहाडीमा १० र राप्ती राजमार्गमा ९, कर्णाली करिडोरमा १३ र भेरी करिडोरमा १७ ठाउँमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वर्षा शनिबार अबेरसम्म जारी रहेका कारण राजमार्गहरू खुलाउन नसकिएको प्रहरीले जनाएको छ । मंगलबारदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प छन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको प्रहरीले जनाएको छ ।
उता, सिन्धुलीमा मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका–६ अक्करे भीरमा खसेको पहिरोले यातायात अवरुद्ध छ । राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर तथा तराईबाट काठमाडौं आवतजावत गर्ने सवारीसाधन बीचमै अलपत्र परेका छन् ।
बबई र कर्णाली तटमा सतर्कता
बबई नदीको जलसतह खतराको बिन्दुनजिक पुगेपछि बर्दिया प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दुई दिनदेखि लगातारको वर्षाले बबईको जलस्तर शनिबार दिउँसो ५.३ मिटर माथि बगिरहेको छ । उता, कर्णाली नदीमा शनिबार दिउँसोसम्म ६.८ मिटर माथि बगिरहेको छ । कर्णालीमा १० मिटर नाघे जाखिम मानिन्छ । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले कर्णालीको सतह अझै बढ्ने जोखिम रहेको छ ।
वर्षा सुरु भएयता तीन सातामा देशभर बाढीपहिरोलगायत मनसुनजन्य घटनामा परी २९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारसम्मै अधिकांश प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वअनुमान बुलेटिनमा आइतबार कोशी, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा तथा मधेश र वाग्मतीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै सोमबार कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
कहाँ के भयो ?
- काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती, मनहरा, हनुमन्ते खोलाको बाढीले किनारका बस्ती डुबानमा
- पानीको सतह खतरा नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो
- कर्णाली राजमार्गको कालिकोट र दैलेख खण्डमा पहिरो, यातायात अवरुद्ध
- महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी आवागमनमा रोक
- स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङछाङ्दीमा पहिरो जाादा सिद्धार्थ राजमार्ग अवरुद्ध
- पहिरोले सिन्धुलीअन्तर्गत पर्ने बीपी र लोकमार्ग खण्ड अवरुद्ध