You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

अवैध बाटो अमेरिका

- जनकराज सापकोटा

 

(काठमाडौं) - घरको आर्थिक संकट टार्न र केही कमाउन श्रमिकको हैसियतमा कतार उड्दा बैरिया–७, रौतहटका मोहम्मद आफताब आलमले भर्खरै १२ पास गरेका थिए । स्थानीय एजेन्टलाई डेढ लाख रुपैयाँ बुझाएपछि उनको राहदानीमा पाँचवर्षे भिसा टाँसिएको थियो । ०७० माघ २६ मा कतार उडेका उनी पाँच वर्षपछि ०७५ माघ २८ मा स्वदेश फर्किए तर कतारबाट होइन, अमेरिकाबाट ।
खाडी पुगेका मोहम्मद कसरी अमेरिका पुगे ? अमेरिका छिरेका उनी किन फर्किए ? कतार–अमेरिका यात्रामा के भयो ? यी प्रश्नका उत्तरले अमेरिका छिर्ने हुटहुटीमा हन्डर, हिरासत र धोकाको हुन्डरीमा परेर घरखेत गुमाउन पुग्ने धेरै नेपालीको कथा बोल्छन् । पहिले उनकै कथा ।
कतारमा मोहम्मदले एक फोन कम्पनीको सेल्स डिपार्टमेन्टमा काम पाएका थिए । पैसा ठीकै थियो, काम पनि उनका निम्ति उति गाह्रो थिएन । त्यहाँ रहँदा बस्दा उनले आफूजस्तै एक बंगलादेशी कामदारलाई चिनेका थिए । एकदिन फेसबुक चलाइरहेका बेला थाहा पाए, केही दिनअघिसम्म आफ्नै छेउमा बस्ने बंगाली साथी अमेरिका छिरेछ ।
खुबै चासो राखेर उनले बंगाली साथीलाई फेसबुक म्यासेन्जरबाटै सोधे, ‘तिमी कसरी पुग्यौ अमेरिका ?’ एक बंगाली एजेन्टमार्फत मेक्सिको हुँदै अमेरिका छिरेको सुनाएर उसले मोहम्मदको इच्छा बुझे जसरी भन्यो, ‘तिमी पनि आउने भए त्यही एजेन्टलाई भेट ।’ कमाइको केही पैसा जोगाएका मोहम्मदलाई अमेरिका छिर्न पाए झनै धेरै कमाउन सकिन्थ्यो र जीवन सजिलो बन्थ्यो भन्ने लाग्यो । उनले मोहिब अली नामको बंगाली एजेन्टसँग सम्पर्क गरिहाले ।
एजेन्टले सुनायो, ‘४५ हजार रियाल (करिब १४ लाख नेपाली रुपैयाँ) लाग्छ ।’ अमेरिका नै पुगिन्छ भने त्यति पैसा किन नतिर्ने भनेर उनी किस्ता–किस्तामा पैसा बुझाउन तयार भए । एजेन्टले ब्राजिलको पर्यटक भिसा मिलाइदियो । ब्राजिलको साओ पाउलो पुगेपछि उनको अवैध यात्रा सुरु भयो । एजेन्टले भनेअनुसार उनी पेरु हुँदै इक्वेडर पुगे अनि कोलम्बिया छिरे । अमेरिका छिर्न हिँडेकाहरूलाई मानव तस्करले पानामा पुर्‍याउन डेरियन ग्याप भनिने जंगली बाटो पैदल हिँडाउँछन् । विषालु सर्प र सन् १९६४ देखि कोलम्बिया सरकारसँग लडिरहेका हतियारधारी गुरिल्ला समूहका कारण यो बाटोलाई धेरैले मृत्युमार्ग पनि भन्छन् । मोहम्मदले सुनाए, ‘डेरियन ग्यापमा हिँड्दा मेरो समूहमा पाकिस्तान, बंगलादेश, भारत र अफ्रिकालगायत विभिन्न देशका गरी झन्डै सय जना जति थिए ।’

क्युबा, सोमालिया, सिरिया, पाकिस्तान, बंगलादेश, नेपाललगायत अफ्रिका र एसियाका देशबाट लुकिछिपी अमेरिका छिर्न हिँडेकालाई मानव तस्करका एजेन्टहरूले यही बाटो हिँडाउने गरेका छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले सन् २०१६ मा निकालेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स ः अ ग्लोबल ओभरभ्यु’ शीर्षक प्रतिवेदनले यो डरलाग्दो जंगली यात्रालाई ‘घोस्ट ट्रेल’ नाम दिएको छ । प्रतिवेदनमा लेखिएको छ, ‘यो जंगल छिचोल्न चाहनेहरू प्रत्येक वर्ष सयौं जना सशस्त्र समूहबाट मारिन्छन् वा बेपत्ता बनाइन्छन् ।’
पानामा छिरेपछि मोहम्मद केही दिन शरणार्थी शिविरमा बसे । त्यहाँबाट बस चढेर कोस्टारिका पुगे । आप्रवासीले सजिलै देश छोडुन् भनेर सरकारले दिने ‘कन्ट्री आउट पेपर’ बनाएर उनी कोस्टारिकाबाट एजेन्टकै सहयोगमा एक साता जंगलको बाटो हिँडेर निकारागुवा–होन्डुरस हुँदै ग्वाटेमाला पुगे । देशपिच्छेका स्थानीय एजेन्ट, अनेकन् नियम र कष्टकर यात्रा पार गर्दै ग्वाटेमाला पुगेपछि उनी आफूजस्तै ४० जनासँग २५ दिन एउटा घरमा बन्धक जस्तै बने ।
स्थिति ‘अनुकूल’ भएपछि एजेन्टकै सहयोगमा उनी मेक्सिको छिरे । उनले सुनाए, ‘ट्युबले बनेको खतरनाक डुंगामा क्षमताभन्दा धेरै मान्छेसँग अटेसमटेस गरेर ढलपल ढलपल गर्दै मेक्सिको छिरेका थियौं ।’ अमेरिका छिर्न हिँडेका सयौं मान्छेको हूलमा उनी केही दिन मेक्सिको–अमेरिका सिमानामा रहेको तिज्वाना सहरमा बसे । एक दिन एजेन्टले सिकाएअनुसार सरासर मूल बाटो हुँदै अमेरिकी भूमि टेके ।
कागजातबिना सीमा पार गर्न लागेको भन्दै उनलाई अमेरिकी सीमा सुरक्षा अधिकारीले तत्काल पक्राउ गरे । खासमा उनले खोजेकै यही थियो किनकि यसरी पक्राउ परेपछि अध्यागमनको नियन्त्रणमा पुगिन्थ्यो अनि बल्ल सुरु हुन्थ्यो, आप्रवासी बन्ने कानुनी प्रक्रिया । अनेकन् कागजी प्रक्रिया पूरा गर्दै उनी १६ महिनासम्म अमेरिकी अध्यागमनको थुनामा बसे ।
शरणार्थीको मान्यता पाइने आसमा उनी लामो कानुनी चक्करमा प्रवेश गरे । एउटा वकिलले उनीसँग तीन हजार डलर अर्थात् तीन लाखभन्दा धेरै नेपाली रुपैयाँ असुल्यो । उसबाट भनेजस्तो काम नभएपछि उनले अर्को वकिल गुहारे । त्यसले त एउटा सानो कामकै ७ सय ५० डलर असुल्यो । अध्यागमनको थुनामा बसेर कानुनी लडाइँ
लड्दालड्दै उनले करिब १० लाख रुपैयाँ गुमाए । तर निष्कर्ष उनले सोचेअनुसार भएन । अन्ततः उनी देश निकाला (डिपोर्ट) मा परे । कतारबाट हिँडेको १९ महिनापछि काठमाडौं उत्रिँदा उनीसँग विभिन्न चरणमा एजेन्टलाई बुझाएको ३० लाख रुपैयाँ र कानुनी प्रक्रियामा खर्च भएको अर्को १० लाख रुपैयाँको ऋणको भारी, हतास मन र अँध्यारो भविष्य मात्रै थियो ।
डिपोर्टपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त उत्रिए, तर कहाँ जाने, कसलाई भेट्ने, कोसँग गुहार माग्ने ? उनीसँग कुनै विकल्प थिएन । उनको हालत देखेर विमानस्थलकै प्रहरीले उनलाई सय रुपैयाँ दिए । त्यही पैसाले उनी तीनकुनेतिर सोझिए । वर्षौं पुरानो सम्झनाको भरमा राति झन्डै १० बजेतिर उनी एक जना साथीको भाइको कोठा ढकढक्याउन पुगे । कतार पुगेको दाइ अचानक कोठामा आइपुगेको देखेर ती भाइ छक्कै परे । मोहम्मदले भने ओत त लाग्न पाइयो भनेर सन्तोष माने ।
भाइकै मोबाइलबाट उनले रौतहतमा बुबालाई फोन गरेर आफू नेपाल फर्केको बताए । मोहम्मदले सुनाए, ‘त्यतिबेलासम्म पनि मेरो घरमा म डिपोर्ट भएर फर्किंदै छु भन्ने थाहा थिएन ।’ उनलाई हारेको अनुहार लिएर घर फर्किन पनि मन लागेन । सुनाए, ‘त्यतिबेला म डिप्रेसनमै गएजस्तो भएको थिएँ । मन थीर थिएन । दिमागमा ऋण मात्रै घुमिराख्थ्यो ।’ कतै पनि मन नअडिएपछि मोहम्मद कामको खोजीमा मुम्बई गए । एउटा होटलमा सात महिना काम गरे अनि बल्ल रौतहट फर्किए ।
अमेरिकाबाट डिपोर्ट भएको झन्डै एक वर्ष पुग्न लागिसक्यो । तर पनि अवैध यात्राको घाउ उनको मनमा चस्किराख्छ किनकि त्यतिबेला एजेन्टलाई बुझाउन लिएको ऋण अझै तिरिसकिएको छैन । घरजग्गा बन्धकी राखेर लिएको ऋणको ब्याजको मिटर प्रत्येक क्षण घुमिराखेको छ । ऋण तिर्नकै लागि पनि मोहम्मदलाई काम गरेर पैसा कमाउनैपर्नेछ । उनले सुनाए, ‘फेरि कतार गएर काम गर्नुपर्‍यो भनेर प्रोसेस चालेको छु । भिसा झर्नेबित्तिकै म्यानपावरले फोन गर्छु भनेको छ ।’
नेपालबाट ल्याटिन अमेरिकी र अफ्रिकी देश हुँदै मेक्सिकोबाट अवैध रूपमा अमेरिका छिराइदिने गिरोहको अन्तर्राष्ट्रिय सञ्जालसँग नेपाली एजेन्टहरूको सम्पर्क बढ्दै जाँदा दुर्गम गाउँमा नेपालीको सर्वस्व गुम्ने मात्र हैन, मुलुकको बदनाम हुने जोखिम पनि बढ्दै गएको छ ।
सर्वस्व स्वाहा
संगठित मानव तस्कर गिरोहका साथ लागेर अवैध रूपमा अमेरिका छिरेर बितेका दुई आर्थिक वर्ष (०७५/७६ र ०७६/७७) मा ९२ नेपाली डिपोर्ट भएका छन् । सबै जना महिनौंसम्म अध्यागमनको नियन्त्रणमा बसेर शरणार्थीको आवेदन अस्वीकार भएपछि डिपोर्ट भएका हुन् । तीमध्ये ८४ जनाले प्रहरीलाई दिएको प्रारम्भिक बयानलाई आधार मान्दा उनीहरूले २१ करोड ४७ लाख रुपैयाँ गुमाएको देखिन्छ । सात जनाले चाहिँ आफूले गुमाएको रकमबारे प्रहरीलाई बताएका छैनन् । प्रहरीका अनुसार एजेन्ट नै आफन्त परेको घटनामा पीडित कानुनी प्रक्रियाबाहिरबाटै रकम उठाउने प्रयत्नमा लाग्ने गर्छन् र प्रहरीलाई फसेको रकमबारे बताउँदैनन् ।
नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार अमेरिकाबाट डिपोर्ट हुनेहरूले फसाएको रकमका अलावा अमेरिका छिर्नै नपाई बीचबाटै फर्किनेहरूले गुमाएको रकमको हिसाब निकाल्ने हो भने अर्बौं रुपैयाँ नेपाली र अन्तर्राष्ट्रिय एजेन्टका हातमा गएको देखिन्छ । जस्तो कि, मंसिरमा मात्रै अवैध रूपमा अमेरिका छिर्ने भन्दै हिँडेका चार जनालाई अफ्रिकी देश मलावीबाट, पाँच जनालाई इन्डोनेसियाबाट र छ जनालाई इथियोपियाबाट उद्धार गरिएको थियो । ब्युरोले लिएको प्रारम्भिक बयानअनुसार यी १५ जनाले महिनौं लामो अवैध यात्रामा दुई करोडभन्दा धेरै रकम फसाएका छन् ।
मानव तस्करीको अनुसन्धानमा संलग्न प्रहरीहरूका अनुसार यो हवाई टिकटसहित नेपाल, भारत, बंगलादेश, पाकिस्तानदेखि मेक्सिकोलगायत विभिन्न देशका एजेन्टलाई बुझाएको रकम हो । ब्युरोका डीएसपी नरहरि रेग्मीका अनुसार डिपोर्ट भएका अधिकांशले एजेन्टलाई बुझाउने रकम अनौपचारिक स्रोत भनिने स्थानीय साहू/महाजनबाट चर्को ब्याजदरमा लिएका हुन्छन् । उनले भने, ‘मानव तस्करीबाट भइरहेको आर्थिक क्षतिको हिसाब तत्काल डुबेको रकमका आधारमा मात्रै गर्न सकिँदैन ।’ ब्युरोका एक अधिकारीका अनुसार डिपोर्ट भएकाहरूले आप्रवासी मान्यता पाउन अमेरिकामा वकिल र कानुनी परामर्शका नाममा ठूलो रकम खर्चेका हुन्छन् । उनले हिसाब सुनाए, ‘डिपोर्ट भएकाहरूले कम्तीमा पनि कानुनी प्रक्रियाका नाममा जनही १० लाख खर्चेका हुन्छन् ।’
अमेरिकाको टुफट्स युनिभर्सिटीमा अध्ययनरत नेपाली सुविन मुल्मीले केहीअघि ‘ट्रेसिङ दि फाइनान्सियल जर्नी अफ नेपाली माइग्रेन्ट्स’ शीर्षकमा गरेको अध्ययनमा सन् २०११ देखि २०१४ सम्म अवैध बाटोबाट नेपालदेखि अमेरिका पुग्ने पाँच नेपालीले कुल ७४ हजार डलर खर्च गरेको निष्कर्ष निकालेका छन् । उनका अनुसार यीमध्ये चार जनाले थप १८ हजार डलर भने आप्रवासीको मुद्दा लड्ने क्रममा अदालतमा धरौटी राखेको देखिन्छ ।
औसत सटही दरले हिसाब गर्दा पनि अमेरिका यात्रामा पाँच जनाले मात्रै करिब १० करोड रुपैयाँ गुमाएको देखिन्छ । मुल्मीको अध्ययनअनुसार अमेरिका छिरिसकेपछि पनि उनीहरूले कानुनी लडाइँका नाममा थप लाखौं रुपैयाँ सिध्याउँछन् । आप्रवासीको आवेदन अस्वीकार भएर डिपोर्ट हुनेले त लाखौं गुमाएका छन् नै, अदालतमा धरौटी राखेर छुट्नेहरूले पनि लाखौं रुपैयाँ धरौटी बुझाइरहेका छन् ।
अमेरिका सपनाका नाममा सर्वस्व गुमाउनेहरूको सूची लामो भए पनि अवैध रूपमा अमेरिका छिर्न देश छाड्नेहरूको लस्कर जारी छ । मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार यस्ता लस्कर अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न देशदेखि भारतका विभिन्न सहरसम्म छन् । मानव तस्करीको अमेरिका कनेक्सनमाथि लामो समयदेखि अध्ययन गर्दै आएका डीएसपी रेग्मी अहिले पनि दुई सयभन्दा धेरै नेपाली अवैध रूपमा अमेरिका छिर्ने आशामा विभिन्न देशमा लुकिछिपी बसेको बताउँछन् ।
अमेरिकाबाट डिपोर्ट भएर हालै फर्केका रुकुम तकसेराका राम बुढाले दिल्ली–स्पेन हुँदै बोलिभियाबाट पानामा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला भएर मेक्सिको पुग्दा कैयन् नेपाली भेटेको बताएका थिए । अमेरिका छिर्नेमा बेरोजगार र आर्थिक रूपमा कमजोर हैसियतका नेपाली मात्रै छैनन् । माओवादीको विद्रोहको बाछिटामा परेका रुकुम र दाङका युवा यस्तो यात्रामा अगाडि देखिन्छन् । पछिल्ला दुई वर्षमा डिपोर्ट भएकामध्ये २५ जना त रुकुमकै छन् भने १५ जना दाङका छन् । अवैध रूपमा अमेरिका छिरेर डिपोर्ट भएकामा सबैभन्दा धेरै अर्थात् ३२ जना कृषि पेसामा आश्रित देखिन्छन् । २० जना विद्यार्थी छन् भने शिक्षण पेसामा रहेका तीन जना छन् । अन्य विभिन्न पेसामा रहेका १२ जना पनि डिपोर्ट भएका छन् । वैदेशिक रोजगारीबाट फर्केपछि अमेरिका छिरेर डिपोर्ट भएकाको संख्या पाँच छ ।
दुई आर्थिक वर्षमा डिपोर्ट भएकामध्ये सबैभन्दा धेरै २० देखि २५ वर्ष उमेर समूहका २६ जना पुरुष छन् । २० वर्षमुनिका एक जना, २६ देखि ३० वर्ष उमेर समूहका २२ जना, ३१ देखि ३५ वर्ष उमेर समूहका २० जना र ३५ वर्षमाथिका २३ जना छन् । यस्तै, तीमध्ये १० कक्षाभन्दा कम पढेका १८ जना र एसएलसी मात्रै पास गरेका ३१ जना छन् । प्लस टु पास गरेका २२ जना, स्नातक सकेका ११ जना र स्नातकोत्तर गरेका तीन जना छन् । फर्किएकामध्ये सात जनाले शैक्षिक योग्यता उल्लेख गरेको देखिँदैन ।
टुफट्स युनिभर्सिटीमा अध्ययनरत सुविन मुल्मी एटलान्टिक समुद्र तरेर गैरकानुनी रूपमा अमेरिका छिर्न हिँडेकाहरूको आर्थिक पक्ष अनुसन्धान गर्न सन् २०१८ को मेमा मध्यअमेरिकी देश कोस्टारिकासमेत पुगेका थिए । उनले अमेरिका छिर्न हिँडेका नेपालीसँग विभिन्न शरणार्थी क्याम्पमै बसेर अन्तर्वार्ता गरेका थिए । त्यसयता अवैध रूपमा अमेरिका छिर्नेहरूबारे निरन्तर अनुसन्धान गरिरहेका मुल्मीका अनुसार २००७ पछि अमेरिकामा कागजात नभएका आप्रवासीको संख्या दुई सय प्रतिशतले बढेको छ । उनको भनाइले सशस्त्र हिंसात्मक द्वन्द्व सकिएपछिका वर्षमा नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेहरूको संख्या बढेको देखाउँछ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी सरकारले अवैध रूपमा मेक्सिको हुँदै छिर्नेहरूमाथि निरन्तर कडाइ गरिरहेको मुल्मीले बताए । उनका अनुसार अमेरिकी सरकारले मेक्सिको भएर अमेरिका छिर्नेहरूलाई आप्रवासीको मान्यता दिन केही महिना पहिले मात्रै नयाँ सर्त थपेको छ । यसअनुसार अमेरिका छिर्नुपूर्व कुनै देशमा आप्रवासीको मान्यताका निम्ति आवेदन दिएर नपाएकाहरूले मात्रै अमेरिकामा आप्रवासीको आवेदन दिन सक्नेछन् । मुल्मीका अनुसार सकेसम्म मेक्सिको हुँदै अमेरिका छिर्नै नदिने, छिरेकाहरूलाई पनि कानुनी प्रक्रियामा कडाइ गर्ने र थुनछेक आदेशपछिको धरौटी रकम पनि बढाउने गरिएको छ । उनले भने, ‘अवैध रूपमा अमेरिका छिर्नेहरूको जोखिम र खर्च बढ्दै गएको छ ।’

मुख्य पृष्ठ

तीन कदम पर पड्कियो बम

इन्स्पेक्टरसहित तीनको मृत्यु
- अजित तिवारी
बम विस्फोटले क्षतिग्रस्त फलामे ढोका ।

(जनकपुर) - धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ४६ वर्षीय राजेश साह शुक्रबार राति सुत्नुअघि शौचालय जान लागेका थिए । त्यति नै बेला उनले घरको भित्री ढोकामा रातो झोला झुन्डिइरहेको देखे । नजिकै पुगेर हेर्दा झोलामा प्रेसरकुकर थियो । उनी आत्तिँदै कोठामा पसे । अनि हतारहतार श्रीमती र छोराछोरीलाई लिएर बाहिर निस्किए ।
त्यसपछि साह सिधै इलाका प्रहरी कार्यालय पुगे । उनले प्रहरीलाई घरमा बम राखिएको जानकारी गराए । प्रहरी निरीक्षक अमिर दाहाल खाना खाइवरि कार्यालयमै बसिरहेका थिए । लगत्तै उनी असई मोहम्मद मुस्तफालाई लिएर साहको घरतर्फ लागे ।
इन्स्पेक्टर दाहालले बाटोबाटै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरे । बम हो/होइन भन्ने यकिन गर्न भन्दै उनीहरू घटनास्थल पुगे । प्रहरी पुग्दा साहको घरवरिपरि मानिसहरू भेला हुन थालेका थिए । त्यतिबेला रातिको करिब १२ बज्नै लागेको थियो । वर्षासँगै आकाशमा गड्याङ्गुडुङ चलिरहेको थियो ।
दाहालले भीड पन्छाउन सुरक्षाकर्मीलाई आदेश दिए र आफू बम राखिएको ढोकातिर अघि बढे । उनीसँगै घरधनी साह र उनका छोरा आनन्द पनि थिए । ‘उनीहरू ३–४ कदम परै हुँदा ठूलो आवाजसहित बम पड्कियो,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले भने, ‘कसैले बम नछुँदै पड्कियो ।’
इन्स्पेक्टर दाहालले खबर गरेपछि महेन्द्रनगरमै रहेको नेपाली सेनाको बम डिस्पोजल टोली
तयार हुँदै थियो । बम नै हो कि होइन, यकिन गरेर फेरि खबर गर्छु भन्दै उनी साहको घरमा गएका थिए । ‘डिस्पोजल टिम तयार हुँदै थियो,’ सेनाका कर्णेल अञ्जन रूपाखेतीले भने, ‘हाम्रो टोली घटनास्थल नपुग्दै बम पड्कियो ।’
मध्यरातको त्यो विस्फोटमा इन्स्पेक्टर दाहाल, साह र उनका छोरा आनन्दको मृत्यु भयो । साह र आनन्दको घटनास्थलमै र दाहालको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान मृत्यु भएको हो । विस्फोटमा साहका कान्छा छोरा १४ वर्षीय प्रकाश साह, १९ वर्षीया अन्जलीकुमारी साह, ७३ वर्षीय भिखारी साह र प्रहरी जवान रिझनाथ महतो घाइते भए ।
विस्फोटको प्राविधिक अनुसन्धान थालेको सेनाले घटनास्थलबाट पड्केको बमको टुक्रा र अवशेष संकलन गरेको छ । ‘बमको टुक्रा र कणलाई हाम्रा विशेषज्ञले केलाउँदै छन्,’ सेनाको महेन्द्रनगर गणका प्रमुख कर्णेल रूपाखेतीले भने ।
केही प्रत्यक्षदर्शीले प्रहरीले छोएलगत्तै बम विस्फोट भएको बताए पनि प्रहरीका प्रदेश प्रमुख डीआईजी प्रद्युम्न कार्कीले आफैं पड्किएको जनाए ।

‘टाइमर सेट गरेर वा रिमोटबाट पड्काएको देखिन्छ,’ कार्कीले भने, ‘बमको प्रकृति थाहा नहुँदा ठूलो क्षति भयो । यस्तो बम उच्च प्रविधियुक्त ज्ञान भएकाले मात्रै बनाउन सक्ने उनले बताए । प्रहरीको छुट्टाछुट्टै टोलीले घटनाको अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले भने, ‘राजेशले रकम लगानी गर्ने र व्यापार–व्यवसाय गर्ने भएकाले ऋण लिनेहरूबाटै विस्फोट गराइएको हो कि भन्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाएका छौं,’ उनले भने ।
साहको घर पस्ने दुई ढोका छन् । बम भित्री ढोकामा राखिएको थियो । अग्लो पर्खाल नाघेर घरको भित्री ढोकाको ह्यान्डलमा बम झुन्ड्याएकोले विस्फोटमा साहको घरमा आउजाउ गरिरहेकै व्यक्तिको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका असई रामपदार्थ साहका अनुसार सहकर्मी मुस्तफालाई भीड नियन्त्रण गर्न भनेर इन्स्पेक्टर दाहाल बम राखिएको ठाउँतिर गएका थिए । ‘घटनास्थलमा अँध्यारो थियो,’ असई साहले भने, ‘बमको कनेक्सन खोज्ने क्रममा आफैं पड्कियो । कुदेर आँगनमा पुग्दा उहाँहरू रगतले लतपतिनुभएको थियो ।’
ब्याजमा ऋण लगाउने साह शुक्रबार पैसा उठाउन हिँडेका बेला अज्ञात व्यक्तिले घरमा बम राखिदिने धम्की दिएका थिए । प्रहरीले लेनदेन विवादमै साहको घरमा बम राखिएको आशंकामा उनको कारोबारसँग जोडिएका व्यक्तिहरूलाई निगरानीमा राखेको छ ।
‘बमबारे राजेशलाई पूर्व जानकारी थियो,’ सुरक्षा स्रोतले भन्यो, ‘ढोकामा रातो झोला देख्नेबित्तिकै घरका सबै सदस्यलाई सुरक्षित ठाउँमा सारेर प्रहरीलाई खबर गरेकाले उनले ढोकामा बम नै रहेको यकिन गरिसकेको हुनुपर्छ ।’
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हंसपुर नगरपालिका २, बघचौडाकी ललितादेवी महरा, सीतादेवी महरा एवं मिथिलाविहारी नगरपालिका १, भुतही पटेर्वाका रामशोभित दाहाल पक्राउ परेका हुन् । पक्राउ परेकाहरू नेत्रविक्रम चन्द समूहमा संलग्न रहेको प्रहरीको आशंका छ । प्रहरीले विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली खटाएको छ ।
संखुवासभाको मादी नगरपालिका घर भएका ४५ वर्षीय प्रहरी निरीक्षक दाहाल ०५५ कात्तिक १ गते प्रहरीमा भर्ना भएका थिए । उनी असईबाट प्रहरीमा प्रवेश गरेका थिए । ०७५ मा प्रहरी निरीक्षकमा बढुवा भएपछि उनी रौतहटको चन्द्रनिगाहपुर, धनुषाको धनुषाधाम हुँदै इलाका प्रहरी कार्यालय महेन्द्रनगर आएका थिए ।
दाहालको शनिबार काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
सिरहामा पनि विस्फोट
सिरहाका लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा पनि शुक्रबार राति बम विस्फोट गराइएको छ । सिरहा प्रहरीका अनुसार कार्यालयको माथिल्लो तल्लामा भएको विस्फोटबाट झ्याल र ढोकामा क्षति पुगेको छ । घटनास्थलबाट इन्टेल मोबाइलको ब्याट्री, किप्याड, तार र सुतली भेटिएको छ ।

“११ बजे जडान, १२ बजे विस्फोट”
धनुषामा भएको शक्तिशाली विस्फोट ‘कुकरजडित टाइम बम’ भएको प्रहरीले जनाएको छ । बम शुक्रबार राति ११ बजे जडान गरिएको र १२ बजे
पड्किएको प्रहरीको बुझाइ छ ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले घटनास्थलबाट टाइम बम भएको प्रमाण फेला परेको बताए । ‘विस्फोट भएको वस्तु टाइम बम हो, घटनास्थलबाट त्यसलाई पुष्टि गर्ने चिप्ससहितका सबुत प्रमाण फेला परेका छन्,’ उनले कान्तिपुरसँग भने, ‘कसैले छोएर पड्किएको वा पड्काइएको होइन, राति ११ बजे जडान गरेर १२ बजे पड्किएको देखिन्छ ।’
आततायी घटना ः गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले धनुषामा शुक्रबार राति भएको बम विस्फोटमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रहरी निरीक्षक र एकै परिवारका बाबुछोराको ज्यानै लिने गरी गराइएको विस्फोटलाई ‘आततायी घटना’ को संज्ञा दिएका छन् ।
गृहमन्त्री थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु ।’

 

Page 2
समाचार

चितवनले सबै शुल्क समायोजन गर्ने

- रमेशकुमार पौडेल

(चितवन) - चितवन मेडिकल कलेज (सीएसमसी) ले शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल गरेको छ । पछिल्ला चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजनको माग राख्दै विद्यार्थीले परीक्षा नलेख्ने अडान राख्दै आएका थिए । सीएमसी प्रशासनले शनिबार विज्ञप्ति निकालेर सरकारसँग दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको जनाएको छ ।
सीएमसी प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । मंसिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुई बुँदे सहमति भएको थियो । जसमा एमबीबीएस र बीडीएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मंसिर ११ बाटै समायोजन गर्ने भनिएको थियो । शैक्षिक सत्र ०७२/७३ र ०७३/७४ सम्बन्धमा चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने भन्ने छ । यो सहमतिलाई आन्दोलनरत विद्यार्थीले भने अस्वीकार गरेका छन् । उनीहरू चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजन हुनुपर्ने अडानमा छन् । पहिलो वर्षका विद्यार्थीले वार्षिक परीक्षा नदिएपछि दोस्रो वर्षका विद्यार्थीले पनि परीक्षा नदिने घोषणा गरेका छन् ।
एमबीबीएस र बीडीएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको बढी लिएको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने विद्यार्थीको माग छ । चितवन मेडिकल कलेजले अन्य स्नातक कार्यक्रम नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बीएमएलटी, बीएमआईटीमा पनि तोकेको भन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । शैक्षिक वर्ष ०७२/७३ र ०७३/७४ का हकमा विश्वविद्यालय तथा सम्बन्धित निकायको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगले गर्ने सिफारिस कार्यान्वयन गर्ने सीएमसीको प्रतिबद्धता छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको शुल्क विश्वविद्यालय तथा सम्बन्धित निकायले तोकी पठाएअनुसार कार्यान्वयन गर्ने कलेजको भनाइ छ ।
विश्वविद्यालयले तोकेअनुसार नियमित वार्षिक परीक्षा शुल्क लिने र परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धित निकायले तोकेबमोजिम गर्ने सीएमसी प्रशासनको भनाइ छ । ‘सरकारसँग गरेको दुई बुँदे सहमतिभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रममा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने चरणमा लैजाँदै छ,’ कलेजले निकालेको विज्ञप्तिका उल्लेख छ । कलेजले आन्दोलनका कार्यक्रम फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलाप सुरु गराउन र विश्वविद्यालयका परीक्षामा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजन प्रक्रियालाई सहयोग गर्न अनुरोध गरेको छ ।
कलेजमा गएको भदौदेखि नै आन्दोलन हुँदै आएको छ । आन्दोलन चर्कंदै गएपछि गत असोज ४ मा चितवन जिल्ला प्रशासनमा विद्यार्थी, अभिभावक र कलेज सञ्चालकबीच वार्ता भएको थियो । जसमा कात्तिक १८ भित्र अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने सहमति थियो । तर यो कार्यान्वयन भएको थिएन ।

समाचार

'गाडीले कुल्चेर मर्ने पनि सहिद ?'

१९९७ माघ १३ गते धर्मभक्त माथेमालाई फाँसी दिइँदा रेणुदेवी चार वर्षकी थिइन्, अहिले ८३ वर्ष पुगेकी उनी आफ्ना बाबुहरूले केका लागि, किन लडेका थिए भनेर अझै बुझ्न–बुझाउन नसकिएको बताउँछिन् ।
- देवेन्द्र भट्टराई

माथि बस्नेलाई सुख होला,
आम जनतालाई दुःखै छ ।
– रेणुदेवी
सहिद धर्मभक्तकी छोरी

(ललितपुर)  - ‘यस अभागीकी आमा मरी, बाबु अर्थात् मेरो जीवनको कुनै ठेगान छैन, जुनसुकै बेला जेसुकै पनि हुन सक्छ । यो तिम्री पनि छोरी हो । सकेदेखि यसको लालनपालन एवं शिक्षादीक्षाको व्यवस्था गरिदिनू, नसके कुनै अनाथालयमा राखिदिनू...।’
भारतको कोलकातामा संघर्षपूर्ण जीवन बिताइरहेका बेला संवत् १९९६ मा युवा धर्मभक्त माथेमाकी श्रीमती उत्तरादेवीको निधन भयो । त्यसबेला धर्मभक्तसँग ३ वर्षीया छोरी रेणुदेवी मात्रै साथमा थिइन् । राणाकालीन शासनको विरोध र स्वतन्त्रताको बिगुल फुक्नमा अग्रणी रहेमध्येका धर्मभक्त नेपाल प्रजा परिषद् पार्टीमा सक्रिय थिए । उनी कोलकाताबाट विशेष काममा काठमाडौं फर्कंदै थिए । त्यहीबेला उनले आफ्ना भाइ ध्रुवभक्तलाई नाबालिका छोरी रेणुको हेरदेख गर्न बिन्ती गर्दै भनेको माथिको पंक्ति यतिखेर इतिहासको ‘अभिलेख’ झैं बनेको छ ।
धर्मभक्तलाई फाँसीको सजाय दिइँदै गर्दा उनकी एकमात्र छोरी रेणुदेवी चार वर्षकी थिइन् । ‘मैले आफ्ना बाबुबारे नेपालका प्रथम सहिदमध्ये एक भनेर किताबमा पढ्न पाएँ, ठूलाबडाले भनेको किंवदन्तीजस्तै लाग्ने कुराबाट बाबुबारे थाहा पाएँ,’ काका ध्रुवभक्त र काकी वृन्दादेवीले छोरीसरह हुर्काएबढाएकी उनै छोरी रेणुदेवी शनिबार सानेपा, ललितपुरको एउटा जमघटमा सुनाउँदै थिइन्, ‘बुबा धर्मभक्तसहित त्यो बेला राणाशाहीविरुद्ध लडेकाहरूबारे आज मेरा नातिनातिनाले पुस्तकहरूमा उसैगरी पढिरहेका छन् तर ती अमर सहिदले केका लागि, किन लडेका थिए भनेर अझै बुझ्न–बुझाउन सकिएको छैन ।’ तत्कालीन राणाशाहीले धर्मभक्तलाई ३२ वर्षकै उमेरमा १९९७ माघ १३ गते फाँसी सजाय दिएको थियो ।
८३ वर्षीया रेणुदेवी केही वर्षयता छोराका साथमा अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएकी छन् । दसैं–तिहारका अवसर पारेर काठमाडौं आएकी उनी शनिबार अर्को एक अवसर पनि कुरेर बसेकी थिइन् । आफ्ना काकाबुबा ध्रुवभक्त माथेमाका बारेमा लेखिएको इतिहाससम्बन्धी पुस्तक विमोचनमा आफ्ना पितापुर्खाको योगदान सम्झन पनि चाहन्थिन् । ‘बुबाहरूको राजनीतिक कर्मकै कारण माथेमा खलक देशनिकालामा पर्‍यो । दार्जिलिङ, कालिम्पोङ लगेर काकाबुबाहरूले थुप्रै हन्डर खाँदै हामीलाई पढाउनुभयो, बढाउनुभयो,’ रेणुदेवी भन्छिन्, ‘पछि राजा त्रिभुवनले देश फर्कने अनुमति दिएपछि मात्रै हामी यताका भयौं ।’
भारतको इलाहावादबाट गृहविज्ञानमा स्नातक गरेपछि काठमाडौं फिरेकी रेणुदेवीले महेन्द्र आदर्श विद्याश्रममा झन्डै ३० वर्ष लगातार पढाइन् । त्यसपछि बुबा धर्मभक्तका नाममा नख्खु, ललितपुरमा विद्यालय खोलेर अनाथ–विपन्नका लागि समेत सहयोग पुग्ने गरी कक्षा चलाइन् । ‘मेरो बुबाको पुस्ताले राणाशाहीविरुद्ध जीउज्यान दियो,’ रेणुदेवी भन्छिन्, ‘पछि पञ्चायत भनियो, प्रजातन्त्र, गणतन्त्र हुँदै अहिले लोकतन्त्र भनिएको छ । लोकतन्त्रका नाममा दलहरू हरहमेसा झगडामा व्यस्त देखिन्छन् । सधैं पद, कुर्सी र शक्तिकै लडाइँ देखिन्छ । एकातर्फ सहिदहरूले सुधारिएको शासन–पद्धतिको चाहना राख्दै आफ्नो जीउज्यान त्याग्ने र अर्कातर्फ सहिदको सपना भन्दै मञ्चबाट अनेक मीठा कुरा सुनाइरहने विरोधाभास ज्युँका त्युँ छ ।’
सहिदपुत्री रेणुदेवीले पछिल्ला वर्षमा भने सहिदको ‘सही अर्थ’ बुझ्न सकेकी छैनन् । ‘लोकतन्त्र आएको कुरामा केही हदसम्म सहिदको सपना पूरा भयो होला । तर, साधारण जनताले गरेको गाँस–बास–कपासको अपेक्षा पूरा हुन सकेका छैनन्,’ उनले भनिन्, ‘म ५० वर्ष नपुग्दै काठमाडौंमा मेलम्चीको पानी ल्याउने भनेर सरकारका योजना र कार्यक्रम आएका हुन् । आज म ८३ पुगें, तर काठमाडौंमा मेलम्ची सपनामै सीमित छ ।’
रेणुदेवीका बुझाइमा नेपाली जनताको विशेषता भनेकै ‘सहन सक्ने शक्ति’ हुनु हो । ‘जेजस्तै कठिनाइ पनि सहन सक्ने अर्थमा नेपालीलाई वीर पनि भनिएको होला,’ उनी भन्छिन्, ‘राज्य पद्धतिमा माथि बस्नेलाई सुख होला तर आम जनतालाई दुःखै छ । कहिले सहिदका सपना, कहिले नेताका सपना भनेरै टार्ने गरिएको छ ।’ अझ सहिद चिन्ने–चिनाउने कुरा गर्दा ‘कसलाई सहिद भन्ने ? किन भन्ने ?’ भन्ने तहमा आफू पुगेको उनी सुनाउँछिन् । ‘गाडीले कुल्चेर मरे पनि सहिद, झ्यालमा घाम तापेर बसिरहेका बेला गोली लागेर मरे पनि सहिद... । सहिद ज्ञात–अज्ञात कति हो कति,’ रेणुदेवीलाई लाग्ने गर्छ, ‘तानाशाही शासनशैलीविरुद्ध देश र जनताका नाममा हाँसीहाँसी फाँसीमा चढ्न तयार धर्मभक्तहरूको इतिहासको आज के अर्थ रह्यो त ? धर्मभक्त, शुक्रराजहरू सहिद कि को सहिद ?’ चार सहिदको इतिहाससमेत भुलेर सहिदगेट भत्काउनेसम्मको राजनीतिक प्रयास भएको सुनेर उनी अचम्ममा परेकी रहिछन् ।
१४ वर्षअघि प्रकाशित प्राध्यापक भवेश्वर पगेनीले लेखेको ‘सन्दर्भ सहिद धर्मभक्त, चर्चा भाइ ध्रुवभक्त’ पुस्तकको अंग्रेजी अनुवाद ‘द लाइफ एन्ड टाइम अफ ध्रुवभक्त माथेमा’ केशवभक्त माथेमाले निकालेका हुन् । पुस्तकको विमोचन शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए । पुस्तकबारे राजनीतिज्ञ दमननाथ ढुंगाना, अनुवादक केशवभक्त माथेमा र मूल लेखक पगेनीले टिप्पणी गरेका थिए । बुबा ध्रुवभक्तको स्मृतिमा छोराहरू केशवभक्त, केदारभक्त र माधवभक्तले पुस्तक विमोचन
समारोह आयोजना गरेका हुन् । ध्रवभक्तको ०६६ साउन १ गत निधन भएको थियो ।

समाचार

सोझै वैदेशिक सहायता नलिन परिपत्र

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले वैदेशिक सहायता वा ऋण सोझै नलिन प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको अधिकार संघको कार्यक्षेत्रमा पर्ने भन्दै नेपाल सरकारको स्वीकृति नलिई सोझै विकास साझेदारहरूसँग सहायता स्वीकार नगर्न एवं सहायताका लागि सम्झौता नगर्न प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम अर्थले परिपत्र गरेको हो ।
प्रदेश र स्थानीय तहबाट दातृ निकाय/समुदाय वा लगानीकर्तासँग नेपाल सरकारसँग समन्वय नगरी सहायता वा ऋण स्विकार गर्ने सम्भावनालाई ध्यान दिनुपर्ने आवश्यकता महसुस गरेर मन्त्रिपरिषद बैठकले परिपत्रको निर्णय गरेको हो ।
केही प्रदेश र स्थानीय तहले विदेशी दातृ निकायसँग सहयोग माग गर्न थालेको तथा दातृ निकायले समेत सोझै प्रदेश र स्थानीय तहमा चासो राख्न थालेपछि सरकारले त्यस्तो परिपत्र गर्ने निर्णय लिएको जानकारी प्रधानमन्त्री कार्यालयका अधिकारीले दिएका छन् । अर्थ मन्त्रालयले परिपत्रमार्फत संविधानको धारा ५९ (६) मा वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुने स्मरण गराएको छ । अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव उत्तरकुमार खत्रीले वैदेशिक सहायता परिचालनलाई प्रभावकारी बनाउन र एकरूपता कायम गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय तहका लागि अन्तर्राष्ट्रिय विकास सहायता परिचालन मापदण्ड तयार गरिएको बताए । ‘अर्थले तयार पारेको कार्यविधि
मन्त्रिपरिषद्मा पठाइएको छ । त्यहाँबाट स्वीकृत भएर आएपछि त्यसअनुसार वैदेशिक सहायतासम्बन्धी काम अगाडि बढ्नेछ,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले सोझै विदेशी दातृ निकायसँग सहयोग लिन वा योजनाका लागि सम्झौता गर्न पाउँदैनन् ।’

समाचार

'सरकारका काममा कमजोरी'

- कान्तिपुर संवाददाता

मोरङ (कास)– नेकपा नेता माधवकुमार नेपालले सरकारले आफ्ना काममा सुधार गर्नुपर्ने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले सरकारको काम गराइमा निकै कमी–कमजोरी रहेकाले जनताका गुनासा र आलोचना धेरै भएको बताए ।
‘जनताले काम गरेर देखाई सुध्रिने मौका दिएको छ तर जनभावनाअनुसार सरकारले काम अघि बढाउन सकेको छैन,’ उनले भने, ‘त्यसैले कमी–कमजोरी खोजेर सरकारले सुधार गरी अघि बढ्नुपर्ने आवश्यकता छ ।’ जनताले आफ्ना असन्तुष्टि उपनिर्वाचनको मत परिणामले प्रकट गरिसकेकाले सरकार सचेत भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘नेकपाले जितेका ठाउँ उपनिर्वाचनमा गुम्नुले खतराको घण्टी बजाएको छ,’ उनले भने, ‘जनताले मतमार्फत सचेत गराइसकेकाले समस्या केलाएर समाधान हुने गरी काम अघि बढाउनुपर्छ ।’
सीमा विवादबारे छलफल गर्न दूत पठाउने विषयमा सरकारले कुनै निर्णय र पत्राचार नगरेको उनले बताए । लिपुलेकलगायतका सीमा विवाद भएका ठाउँबारे नेपालसँग थुप्रै तथ्य र प्रमाणहरू रहेकाले त्यसकै आधारमा भारत सरकारसँग वार्ता गर्नु आवश्यक रहेको उनले बताए ।

समाचार

दशगजामा भारतीय चौकी

- नवीन पौडेल,रूपा गहतराज
पश्चिम नवलपरासीको सुस्ता नर्सहीको भारतीय सीमा दशगजामा भारतीय पक्षले बनाएको अस्थायी जाँच चौकी । तस्बिर ः नवीन पौडेल/कान्तिपुर

(परासी/नेपालगन्ज) - सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियमविपरीत स्थापना गरेको हो । भारतको उत्तर प्रदेश र विहारसँग जिल्लाको सीमा जोडिएको छ ।
पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्तासम्म दशगजा छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट निर्माण गरेको बताए । त्यसबारे सम्बन्धित निकायलाई कूटनीतिक रूपमा जानकारी गराउने बताए । ‘अधिकांश स्थानमा दुवै पक्षबाट पालना गर्नुपर्ने नियम पूरा भएको छ,’ उनले भने, ‘एक/दुई स्थानमा दशगजा छुने गरेर अस्थायी पोस्ट भएको भेटिएपछि तत्काल हटाउन भनिएको छ ।’
सीमा क्षेत्रमा सशस्त्र प्रहरीका तीनवटा बोर्डर आउट पोस्ट (बीओपी) छन् । भारततर्फ भने एसएसबीका १० भन्दा बढी पोस्ट छन् । सीमा क्षेत्रमा बीओपी कम भएपछि अहिले पाल्हीनन्दन गाउँपालिकाको गेर्मीमा अर्को पोस्ट स्थापनाको तयारी गरिएको सशस्त्र प्रहरी बल पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले बताए । त्यसपछि भुजहवामा राख्ने गरी जिल्लास्थित सुरक्षा समितिबाट प्रस्ताव गरी पठाइएको छ । जिल्लास्थित सुरक्षा अधिकारीको संयुक्त अनुगमन टोलीले दशगजा क्षेत्रमा निर्माण गरिएका केही सीमास्तम्भ (पिलर) हरूको रङरोगन मेटिएको अवस्थामा पाएको छ । केही स्तम्भका नम्बर मेटिएको छ ।
सीमा क्षेत्रमा १३ वटा प्रमुख र तीवटा सहायक गरी १६ वटा सीमास्तम्भ छन् । सनहीदेखि कुडियासम्म ती स्तम्भ छन् । सीमास्तम्भको मर्मत सम्भार दुवै देशले गर्नुपर्ने प्रावधान छ । सुस्ताको २४ किमि क्षेत्रमा सीमास्तम्भ छैन । सीमास्तम्भ नभएका ठाउँमा खोला, रूख वा अन्य जैविक सीमाको भर पर्नुपरेको छ । त्यसले गर्दा जोतभोगका विषयमा सीमावर्ती क्षेत्रका बासिन्दाबीच पटक–पटक विवाद हुने गरेको छ ।
सीमा छुट्याउनै हम्मे
बाँकेको नरैनापुर गाउँपालिकाको हुलासपुर्वा गाउँपारि भारतीय बजार छ । त्यहीँ नेपाल–भारत सीमा छुट्याउने दशगजा छ । दशगजामै बस्ती छ । वारिपारि दुवैतर्फका बासिन्दाले बसोबास गर्नै नमिल्ने जग्गामा घरटहरा हालेका छन् । बस्ती बाक्लिँदै गएपछि अहिले उक्त क्षेत्रमा दुई देशबीचको सीमा
छुट्याउन हम्मे पर्छ ।
नेपाली भूमिमा आएका भारतीयहरू घाम अस्ताएपछि घाँस–दाउरा, वस्तुभाउसँगै फर्कन्छन् । यहाँको बस्तीले गर्दा दुई मुलुकका सीमा प्रष्ट छुट्टिंदैनन् । नरैनापुरकी सबानो शेख चार वर्षअघि भारतीय बुहारी भएर भित्रिइन् । अहिले डेढ वर्षकी छोरी हुर्काइरहेकी छन् । उनलाई कहिल्यै नेपाल छाडेर आएजस्तो लाग्दैन । आँगन पार गर्नासाथ नेपाल टेकिन्छ । पाँच मिनेटको दूरीमा रहेको माइती पुगेर न्यास्रो मेटाउँछिन् । ‘दिनमा एकपटक माइती पुग्छु,’ उनले भनिन्, ‘परदेशमा बिहे भए पनि नेपालमै छु जस्तो लाग्छ ।’ स्थानीय नौसाद अलि शेख भारतमा काम गर्छन् । फुर्सदमा सीमावारि नेपालगन्ज आउँछन् । ‘हामी दैनिक नेपाल आवतजावत गर्छौं,’ उनले भने, ‘साथीभाइ, इष्टमित्र सबै यतै छन् ।’
अधिकांश दशगजामा बसोबास गरिरहेकाहरू कुन मुलुकका हुन्, पत्ता लगाउन मुस्किल पर्छ । स्थानीय ५५ वर्षीय इलियास शेख पुस्तौंदेखि दशगजामा बस्छन् । सीमास्तम्भले मात्र भूमि छुट्याउँछ । भारतमा भन्दा नेपालमा उनका नातेदार बढी छन् । ‘नेपालतर्फ बढी आवतजावत हुन्छ,’ उनले भने । यहाँ भारतीय र नेपाली रुपैयाँ चल्छ । स्थानीयले दुवै मुलुकको मुद्रा साँचेर राख्ने गरेको बताए । ‘नेपालगन्जमा नभए बहराइचमा उपचार गर्न जान्छौं,’ उनले भने, ‘सामान्य बिरामी हुँदा नेपालगन्जमै सजिलो हुन्छ ।’ आफ्ना दुई छोरीको बिहे बाँकेको जमुनी र सोनवर्षामा भएको उनले बताए ।
अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजामा बस्ती बसाउन पाइँदैन । यहाँ भने सीमा क्षेत्रमा दुईतर्फी बस्ती छ । सीमा संवेदनशीलताबारे जानकारी नभएकाले घर बनाएको उनीहरूले बताए । ‘वर्षौंदेखि यहीं बसेका छौं । कसैले हट्न भनेका छैनन्,’ ककरदरीकी सहजादी शेखले भनिन् । जिल्लाका सीमावर्ती बासिन्दाले दशगजामा पशुचौपाया चराउनेदेखि माटो झिक्न खनेर खाल्डो बनाएका छन् । ‘सँगै जन्मिएर हुर्कियौं,’ बाँकेको हुलासपुर्वाका २९ वर्षीय रामानन्द यादवले भने, ‘देश फरक भए पनि एउटै परिवार जसरी बसेका छौं ।’ उनी भारतीय गाडी चढ्छन् । निर्वाध चलाउन पाइने भएकाले भारतीय गाडी प्रयोग गर्दै आएका हुन् । बिहे पनि भारतमा गरेका छन् । उनका बाबुको ससुराली पनि सीमापारि हो । ‘सबै काम उतै हुन्छ,’ यादवले भने, ‘सामान पनि सस्तो, जान पनि सजिलो ।’ नरैनापुर गाउँपालिकास्थित घोडादौडिहामा सीमामा टहरा बनाइएको छ । उनीहरू मिलेर बसेका छन् ।

Page 3
समाचार

कांग्रेस विवाद उत्कर्षमा

बहिष्कार दोहोरिन नदिन सभापति देउवाले शनिबार बिहान पौडेल निवास पुगेर करिब एक घण्टा छलफल गरे पनि निकास निस्किएन ।
- कुलचन्द्र न्यौपाने
काठमाडौं बोहराटारस्थित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा शनिबार छलफल गर्दै सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि । तस्बिर ः किरण पाण्डे/कान्तिपुर

(काठमाडौं) - कांग्रेसको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा सहमत नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने उद्घोष गरेका छन् । देउवा–पौडेलबीच शनिबार बिहान र दुवै पक्षबीचका वार्ता टोलीबीच अपराह्न भएको छलफलले निष्कर्ष निकाल्न नसकेपछि केन्द्रीय कार्यसमिति बैठकमा पौडेल पक्ष उपस्थित नहुने निचोडमा पुगेको हो ।
सभापति देउवासँगको छलफलपछि पौडेल पक्षको छुट्टै बैठक महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको थियो । त्यही बैठकले महाधिवेशनको कार्यतालिका ल्याउन सभापति देउवा सहमत नभएसम्म बैठकमा सहभागी नहुने निर्णय लिएको हो । ‘संस्थापन पक्ष कार्यतालिका ल्याउन तयार देखिएन, त्यसैले भोलि (आइतबार) को बैठकमा पनि अनुपस्थित हुने निर्णय भएको छ,’ केन्द्रीय सदस्य रामकृष्ण यादवले कान्तिपुरसित भने ।
आन्तरिक र समसामयिक राजनीतिका ९ वटा एजेन्डा ल्याउँदा पार्टीको केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रस्टसँग नल्याइएको भन्दै पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो ।
बहिष्कार दोहोरिन नदिन सभापति देउवा पौडेलसँग छलफलका लागि उपसभापति विमलेन्द्र निधिलाई लिएर शनिबार बिहान बोहराटार पुगेका थिए । देउवाले निधिलाई साथमा ल्याएपछि पौडेलले पनि आफ्नो पक्षबाट केन्द्रीय सदस्य हृदयराम थानीलाई साक्षीका रूपमा राखेका थिए । त्यहाँ करिब एक घण्टा छलफल भयो ।
समकालीन दौंतरी रहेका देउवा र पौडेलले केहीछिन आपसी अविश्वास र सहयोग–असहयोगका अन्तर्कथा सुनाएका थिए । देउवाले आफूलाई पार्टी सभापति भएदेखि नै पौडेलबाट सहयोग नभएको गुनासो गरे । उनले यसपटक सहयोग गर्न पौडेललाई आग्रह गर्दै विभागको संख्या बढाउने, नेविसंघको तदर्थ समिति बनाउने र तरुण दलको कार्यसमितिको विस्तार एवं ६ महिनाको म्याद थप गर्ने कार्ययोजना सुनाएका थिए । पौडेलले आफूले पञ्चायतकालदेखि त्याग गरेको तर देउवाबाट आफूले कहिल्यै सहयोग नपाएको गुनासो पोखे । देउवाले प्रस्तुत गरेका कार्ययोजनालाई तपसिलका विषय भन्दै पौडेलले महाधिवेशनको कार्यतालिकाको विषयलाई मुख्य मुद्दा बनाए । उनले वडादेखि केन्द्रसम्मको अधिवेशनको कार्यतालिका नल्याएसम्म आफ्नो समूहले बैठकमा भाग नलिने जानकारी सभापति देउवालाई दिए ।
उपसभापति निधिका अनुसार सभापति देउवा महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सकारात्मक छन् । समायोजन नसकिएका कारण मात्रै कार्यतालिका ल्याउन ढिलाइ भएको तर्क देउवाको छ । नयाँ राज्य संरचनाअनुसार पार्टीको संघ, प्रदेश निर्वाचन क्षेत्र, गाउँ/नगरपालिका र वडा तहसम्मको संरचनाको समायोजनसम्बन्धी काम राधेश्याम अधिकारीको संयोजकत्वको समितिले गर्दै आएको छ ।
समायोजनका लागि समितिलाई कात्तिक मसान्तसम्मको समय दिँदै मंसिरभित्र महाधिवेशनको कार्यतालिका ल्याउने निर्णय यसअघिको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो । तर, मंसिर मसान्तभित्र समायोजन नै नटुंगिने देखिएको छ । समायोजनमा तदारुकता नदेखाएर पार्टी नेतृत्वले महाधिवेशन लम्बाउन खोजेको आशंका पौडेल पक्षले गर्दै आएको छ । त्यही आशंकालाई बल पुग्ने गरी बिहीबार सुरु केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिकाको एजेन्डा प्रस्टसाथ नआएपछि पौडेल पक्ष थप चिढिएको हो ।
‘महाधिवेशनको कार्यतालिका ल्याउन तयार नै छु, यसलाई मैले कहाँ इन्कार गरेको छु ? यसैका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो । समायोजन सकिएपछि कार्यतालिका ल्याउने हो, किन शंका गर्नु हुन्छ ?’ पौडेलसँगको छलफलमा देउवाले राखेको भनाइ उद्धृत गर्दै उपसभापति निधिले भने, ‘हरेक कुरा सल्लाह गरेरै आएको छु, विभाग गठन, नेविसंघ गठन र तरुण दलको म्याद बढाउने कार्ययोजना मैले ल्याएको छु । यसलाई साथ दिनुहोस् । नत्र बाध्य भएर निर्णय गराउनुपर्ने हुन्छ ।’
देउवाले सहमतिमा नआए बहुमतबाट निर्णय गरेर अघि बढ्ने जानकारी पनि पौडेललाई दिएका छन् । पौडेल पक्षको बैठक बहिष्कारपछि देउवाले शुक्रबार आफूनिकट पदाधिकारी तथा सदस्यहरूसँग कसरी अघि बढ्ने भन्नेबारे सुझाव लिएका थिए । धेरैजसोले बहिष्कारले पार्टी संगठनलाई असर गर्ने भन्दै पौडलसँग छलफल गर्न सुझाएका थिए । त्यही सुझावअनुसार पौडेललाई भेट्न देउवा बोहराटार पुगेका हुन् ।
‘सभापति नै पौडेलको घरमै पुगेर छलफल गर्नु आफैं सकारात्मक कुरा हो,’ निधिले भने, ‘तर उहाँ (पौडेल) मानिरहनुभएको छैन ।’
कार्यतालिका ल्याउन किन आनाकानी ?
वडा तहसम्मको समायोजन भएपछि क्रियाशील सदस्यताको वितरण र नवीकरण अघि बढाउन सकिन्छ । त्यसपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ । क्रियाशील सदस्यताको वितरण, नवीकरण, वडा, क्षेत्रीय, संघीय र प्रदेश संसदीय निर्वाचन क्षेत्र हुँदै प्रदेश र केन्द्रीय महाधिवेशन कहिलेसम्म सम्पन्न गर्ने भन्नेबारे समयबद्ध तालिका ल्याउन समायोजनले रोक्दैन । तर, सभापति देउवाले समायोजनको कार्य सकिएपछि मात्रै कार्यतालिका ल्याउने बताउँदै आएका छन् । पौडेलसँगको छलफलमा समेत केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने निर्णय भएकै दिन कार्यतालिका ल्याउने प्रतिबद्धता देउवाले व्यक्त गरेका थिए । उनकै भनाइअनुसार पनि कार्यतालिका ल्याउन अझै एक महिना लाग्छ । देउवाले त्यतिञ्जेल रोकिएका पार्टीका काम अघि बढाउने योजना बनाएका छन् ।
कार्यकाल सकिन दुई महिना बाँकी छँदा विभाग गठन गर्न नसकेको आरोप देउवामाथि छ । दस महिनादेखि नेविसंघ नेतृत्वविहीन छ । संघको तदर्थ समितिसमेत बनाउन उनले सकेका छैनन् । तरुण दलको तीन वर्षको कार्यकाल चार पदाधिकारीमै सकिएको छ । कात्तिक मसान्तमा सकिएको दलको म्याद थप ६ महिना थप्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा विचाराधीन छ । पार्टीको प्रदेश कार्यसमिति बनेको छैन । पार्टीका संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिसमेत पुनर्गठन हुन सकेको छैनन् । दर्जनभन्दा बढी भ्रातृ संस्थाहरूको वर्षौंदेखि अधिवेशन हुन सकेको छैन । कतिपय भ्रातृ संस्थाको त स्थापनाकालदेखि नै अधिवेशन भएका छैनन् । शुभेच्छुक र जनसम्पर्क समितिहरूको हालत उस्तै छ । देउवाले यसबीचमा पार्टी संरचनालाई पूर्णता दिने केही महत्त्वपूर्ण निर्णय गरिसकेपछि मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने योजना बनाएका छन् । ‘महाधिवेशनको मिति तोकिसकेपछि काम चलाउ केन्द्रीय कार्यसमितिले केही निर्णय गर्न पाउँदैन भन्ने प्रश्न उठ्न सक्छ भनेरै उहाँले कार्यतालिका अलि पछि धकेल्न खोज्नु भएको होला,’ उनी निकट एक केन्द्रीय सदस्यले भने, ‘नत्र केन्द्रीय कार्यसमितिको एक वर्षको कार्यकाल बढाउने पक्कापक्की जस्तै भएपछि ०७७ सालको फागुनमा केन्द्रीय महाधिवेशनको मिति तोक्न के अप्ठ्यारो पर्थ्यो र ?’
पौडेल पक्ष पनि देउवाका कमजोरीलाई मुद्दा बनाएर महाधिवेशनमा जाने योजनामा छ । पार्टीलाई तदर्थवादमा चलाएर संगठन ध्वस्त बनाएको आरोप पौडेल पक्षीय नेताहरूको छ । आफूमाथि लागेको त्यही आरोपलाई मुद्दा बनाउन नदिन देउवाले विभाग, नेविसंघ र तरुण दलको गठन तथा विस्तार गर्ने एजेन्डा केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिसकेका छन् । पौडेल पक्षसित सहमति नबने बहुमतका आधारमा निर्णय लिने देउवाको तयारी छ । पौडेल पक्ष देउवाको कदमलाई रोक्ने योजनामा छ ।
‘देउवालाई समयमै रोक्न सकिएन भने पार्टी नै कब्जा हुन सक्छ, आगामी महाधिवेशनबाट फेरि देउवा नै सभापति बन्ने सम्भावना रहन्छ भन्ने बुझाइ पौडेल पक्षको छ,’ पौडेल निकट स्रोतको भनाइ छ, ‘आफ्नो अनुकूल भएन भने महाधिवेशनै नगराउन सक्ने खतरासमेत देखिएकाले कार्यतालिकाको प्रश्न बारम्बार उठाइएको हो ।’

 

समाचार

अनुसन्धानमा बैंकको ‘असहयोग’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बैंक/वित्तीय संस्थाहरूले अनलाइन र ह्याकिङबाट संकलित रकमको शंकास्पद कारोबारमाथि छानबिनका लागि प्रहरीलाई विवरण दिन अटेर गरेका छन् ।
अन्तर्राष्ट्रिय ह्याकर र अनलाइन ठगीमा संलग्न गिरोहका नेपालस्थित एजेन्ट पक्राउ परेपछि प्रहरीको महानगरीय अपराध महाशाखाले नेपाल राष्ट्र बैंकमार्फत १७ वटा वाणिज्य र विकास बैंकलाई पत्र लेखेर शंकास्पद कारोबारको विवरण मागेको थियो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले ह्याकर र ठगी गर्ने गिरोहको खाता रहेका धेरैजसो बैंकले कारोबारको विवरण नदिएको बताए । बैंकहरूले विवरण उपलब्ध नगराउँदा अनुसन्धानमा असर पुगेको उनको भनाइ छ ।
थापाका अनुसार पछिल्ला २ वर्षमा अनलाइन ठगी र बैंक ह्याकिङबाट संकलित करिब १७ करोड रुपैयाँ १७ वटा बैंक/वित्तीय संस्थाबाट बाहिरिएको देखिन्छ । काठमाडौंबाट मंसिर २३ गते पक्राउ परेका अन्तर्राष्ट्रिय ह्याकरका नाइके नाइजेरियाली नागरिक पिटर हर्मन र बेलायतका स्मिथ मोरिसका नेपाल एजेन्ट रमेश खड्काले अपराधबाट संकलित रकम १७ वटा बैंकमा राखिएको बयान दिएका थिए । खड्काको बयानपछि महाशाखाले केही बैंकको कारोबारमा सूक्ष्म निगरानी गरेको थियो । त्यस क्रममा प्रहरीले खड्काका नाममा रहेको बैंक अफ काठमाडौंको खाताबाट ३ करोड र लुम्बिनी विकास बैंकबाट २ करोड रुपैयाँ केही समयको अन्तरालमै झिकिएको भेटेको थियो ।
खड्काले बैंकमा भएको रकम २५ प्रतिशतसम्म कमिसन लिएर बाँकी रकम हुन्डीमार्फत विदेश पठाउने गरेको बयान दिएका थिए । त्यसपछि प्रहरीले शंकास्पद खातामाथि अनुसन्धान गर्न बैंकहरूलाई पत्र पठाएको थियो । तर बैंकर संघका नवनिर्वाचित अध्यक्षसमेत रहेका सानिमा बैंकका सीईओ (प्रमुख कार्यकारी अधिकृत) भुवन दाहालले अर्बौं रुपैयाँ कारोबार गर्ने संस्थामा सानातिना ठगी र चोरी हुनु सामान्य भएको बताए । सानो अनुपातको रकम ठगी र चोरीमा संस्था नै बदनाम हुन सक्ने भएर बैंकहरूले विवरण दिन अटेर गरेको हुन सक्ने उनले बताए । ‘अनुसन्धानका क्रममा प्रहरीले मागेको विवरण नदिनु बैंकहरूको कमजोरी हो,’ उनले भने ।
दाहालका अनुसार १ वर्षमा सबभन्दा कम नाफा आर्जन गर्ने बैंकले १ अर्ब २० करोड कमाएका छन् र सबभन्दा कम पुँजी कोष हुनेको पनि ११ अर्ब छ । ‘यति धेरै रकम कारोबार गर्ने संस्थामा सानातिना चोरी, ठगीजस्ता घटना हुन्छन् तर अपराधमा छानबिन गर्न सघाउनु हामी सबैको दायित्व हो ।’ प्रहरीले अनुसन्धानका लागि मागेको विवरण बैंकहरूले नदिएको भए त्यो सम्बन्धित बैंकहरूकै कमजोरी भएको उनको भनाइ छ । बैंकमा चोरी, ठगी र ह्याकिङलगायत ‘अपरेसनल रिस्क’ व्यवस्थापन गर्नकै लागि हरेक बैंकले कुल नाफाको १५ प्रतिशत रकम छुट्याइने गरेको उल्लेख गर्दै उनले बताए । ‘यस्ता अपराधकै कारण निक्षेपकर्ता आत्तिनुपर्दैन,’ उनले भने ।

Page 4
प्रदेश ३

‘प्याड नहुँदा पढाइ छुट्छ’

- कान्तिपुर संवाददाता

भरतपुर (कास)– १४ वर्षकी सविता सुनार चितवनको दिवानगर माडीस्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पाँच कक्षामा पढ्छिन् । अघिल्लो महिना उनी कक्षाकोठामै छँदा महिनावारी भइन् । उनको पोसाकमा रगत देखेपछि शिक्षिकाले खुसुक्क बोलाइन् र घर जान भनिन् । करिब २० मिनेटको बाटो
हिँडेर जान गाह्रो मानेपछि उनै शिक्षिकाले घरसम्म पुर्‍याइदिइन् ।
विद्यालयमा सेनिटरी प्याडको व्यवस्था नहुँदा महिनावारीका बेला उनीजस्ता किशोरी समस्यामा पर्ने गरेका छन् । सामुदायिक विद्यालयका प्राथमिक तहका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम प्राथमिकता छैन । सविता दुई महिनाअघि पहिलोपटक महिनावारी भएकी हुन् । त्यसबेला स्कुल बिदा थियो । उनी खाना खाएर घर नजिकै साथीको घरमा खेलिरहेकी थिइन् । अचानक आफ्नो खुट्टामा रगत बगेको देखिन् । कतै घाउचोट नदेखेपछि दौडिँदै आमालाई भन्न पुगिन् । आमाले उनलाई ‘पर सरेको’ भन्दै अलग्गै रहन भनिन् । र, कोठाबाट पुरानो कपडा च्यातेर राख्न सिकाइन् । साँझ परेपछि फुपूको घर जाने भन्दै बुवा र भाइले नदेख्ने गरी लुकेर बस्न अह्राइन् । झमक्क साँझ परेपछि आमासँग फुपूको घरतर्फ लागिन् । चार दिन फुपूकहाँ बस्दा उनी विद्यालयमा गयल हुनुपर्‍यो ।
सवितासँगै पढ्ने सहारा कुमाल पनि यसै महिना पहिलोपटक महिनावारी भइन् । सविताले नै उनलाई कपडाको प्याड प्रयोग गर्न सिकाइन् । उनीहरूले महिनावारी भएको कुरा साथीलाई भनेका छैनन् । ‘सबै साथी हामीभन्दा साना छन्,’ सहाराले भनिन्, ‘केटाहरूले थाहा पाए भने त झन् जिस्क्याउँछन् ।’
उक्त विद्यालयमा अधिकांश सीमान्तकृत, दलित र जनजाति समुदायका बालबालिका अध्ययन गर्छन् । उनीहरूले घरमा भाइबहिनीको हेरचाहका साथै र आमाबुवालाई काममा सघाउनुपर्छ । यसको असर पढाइमा पर्छ, धेरैजसो फेल हुन्छन् । यही कारण उमेर बढी भए पनि प्राथमिक तहमा पढ्ने विद्यार्थीको संख्या निकै छ ।
विद्यालयमा पाँच कक्षामा पढ्ने चार छात्रा महिनावारी भइसकेको शिक्षिका टीकाकुमारी खत्रीले बताइन् । ‘विद्यालयमा सेनिटरी प्याडको अवधारणा पनि छैन, हामीले पनि त्यसबारे कुरा उठाएका छैनौं,’ उनले भनिन्, ‘बीचमै छुट्टी लिएर जाने र तीन–चार दिन गयल हुने गरेका छन् । प्याड अभावमा कतिपयको पढाइ छुटिरहेको छ ।’ सेनिटरी प्याडको व्यवस्था गर्नुपर्ने आवश्यकताबारे प्रधानाध्यापक नै अनभिज्ञ देखिए । ‘हाम्रा विद्यार्थी पनि महिनावारी भएका छन् भन्ने जानकारी शिक्षिकाबाट आएको छैन,’ प्रधानाध्यापक प्रेमकुमार काफ्लेले भने, ‘के आधारमा माग्नु ?’
माडी नगरपालिकाले अर्को प्राथमिक विद्यालयमा भने निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने भएको छ । राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय अयोध्यापुरीकी शिक्षिकाले आफ्ना विद्यार्थीका लागि प्याडको व्यवस्था गर्नुपर्ने माग राखेपछि पहल गरिएको माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए ।

प्रदेश ३

डाँडापारिका 'दुःख' घट्दै

- नगेन्द्र अधिकारी
महाभारत गाउँपालिकाको गोकुले जाँदै गरेको बस । गाउँपालिकाले कच्ची सडक निर्माण गरेपछि यातायात सेवा विस्तार भएको छ । तस्बिर ः नगेन्द्र/कान्तिपुर

 

(महाभारत, काभ्रे) - डाँडापारि क्षेत्रको महाभारत–८ घर्तीछापका रत्नबहादुर रानालाई नुन लिन तीन/चार दिन लगाएर बनेपा र दाप्चा पुगेको हिजोअस्ति जस्तो लाग्छ । दाउरासहित खानेकुरासमेत बोकेर एकरात बीचमै बास बसेका ती दिन उनी अझै सम्झन्छन् । अहिले दिन फेरिए । उनको घरआँगनबाटै बस चल्छ । चार घन्टामा बनेपा पुगेर काम सकीवरी फर्कन भ्याउँछन् । ‘दुःखका दिन सपनाजस्तै लाग्छ । अहिले निकै सजिलो भयो, एकैदिनमा बनेपा–काठमाडौं पुगिने भइयो,’ विगत सम्झँदै रत्नबहादुर भन्छन्, ‘बनेपापछिको ठूलो बजार दाप्चा थियो । तीन/चार दिन लगाएर जान्थ्यौं ।’
विकट मानिने डाँडापारिका बासिन्दा घर्तीछापबाट महादेवटार र पल्लो महादेवटारको पैदल बाटो हिँड्दै दाप्चा र बनेपा पुगेर नुन, तेल र लत्ताकपडाको जोहो गर्थे । डेढ वर्षअघि डाँडालाई सडकले जोडेपछि उनीहरूको दिनचर्या सहज भएको हो । महाभारतका सबै वडामा सडक सञ्जाल जोडिएपछि बनेपाबाट दैनिक बस ओहोरदोहोर गर्छन् । मंगलटार च्युरीबास हुँदै वाल्टिङ डाँडाखर्कबाट चारकिल्ला हुँदै फोक्सिङटार, चौकीडाँडा–सिसाखानी–सिपाली र बूढाखानी हुँदै फोक्सिङार–घर्तीछाप–गोकुले र मंगलटार–जुगेपानीबाट सिन्धुलीको रामपुर हुँदै बनखु–घर्तीछाप गोकुले रुटमा दैनिक यातायात सञ्चालन भइरहेको छ । फोक्सिङटारका वीरमान लामा धुलेसडक नै भए पनि बस चल्न थालेपछि जीवनयापन सहज भएको बताउँछन् । ‘निकै सुविस्ता भएको छ, पहिला माइकलले गाउँमा स्कुल बनाउँदा दाप्चादेखि तीन/चार दिन लगाएर सामान बोकेर ल्याएका थियौं,’ उनले भने, ‘अहिले बाटोले हाम्रो जुनी फेरिदियो । हुनसम्म सजिलो भएको छ ।’
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा सबै वडामा सडक पुगेपछि अब स्तरोन्नतिलाई प्राथमिकता दिने बताउँछन् । ‘अब जुनसुकै मौसममा पनि अवरुद्ध नहुने सडक बनाउने हाम्रो अभियान हो,’ उनले भने, ‘मंगलटार–चारकिल्ला–खोलाघारी–बनखु–घर्तीछाप–गोकुले हुँदै मकवानपुरको भोर्लेनी जोड्ने सडक कालोपत्रे गर्ने गरी डीपीआर भइरहेको छ ।’ विकट भएकै कारण गत आर्थिक वर्षमा प्रदेश ३ सरकारबाट विशेष अनुदान पाँच करोड पाएको महाभारतले गाउँपालिकाका आन्तरिक सडक स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । सबै वडा सडक सञ्जालमा जोडिए पनि २ नम्बर वडाबाट सिधै गाउँपालिका केन्द्र आउने सडक नै सय मिटर चट्टानका कारण दुईतर्फी हुन पाएको छैन । सडक विस्तार भए पनि गाडी हिउँदमा मात्रै चल्छन् । भीमखोरी, बूढाखानी, सिपाली र ताराखसे लेक हुँदै जाने बाटो पहिरो र बाढीले अवरुद्ध हुने गरेका छन् । ट्र्याक मात्र खोलेर यातायात सञ्चालन गरिएका ती सडकमा यात्रा गर्न अरू मौसममा पनि जोखिमपूर्ण छ ।
जिल्लाको अर्को विकट मानिने खानीखोला गाउँपालिकामा पनि हालैबाट सिधा बस सञ्चालन भएको छ । ०५४ सालदेखि निर्माण सुरु भएको खोपासी–कामीडाँडाबाट स्याउरेथली हुँदै डाँडागाउँबाट जोड्ने तालढुंगा सडक पटक–पटकको बजेटबाट स्तरोन्नति भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा ०५४ सालबाट सञ्चालित ग्रामीण पूर्वाधार विकास कार्यक्रमले ०६४ सम्ममा २२ किमि सडक बनाएपछि तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरिएको भए पनि कोत्रेभीरको पहरा फुटाउन कठिन भएकाले सडक दुईतर्फी हुन सकेको थिएन । जिल्ला हुँदै नियमित बस सेवा सञ्चालन हुने अवस्था नभएपछि यहाँका स्थानीय ललितपुर, काठमाडौं, भक्तपुर जिल्ला फन्को लगाएर मात्रै धुलिखेल पुग्न सक्थे । खानी खोलाको तालढुंगाबाट ललितपुरको ग्रामीण बस्ती वाग्मती र महांकाल गाउँपालिकाबाट कान्ति लोकपथ हुँदै चापागाउँ निस्केर भक्तपुर हुँदै काभ्रे आउनुपर्ने बाध्यता थियो ।
खानीखोलाको वडा नं ६ साल्धाराको केन्द्रसम्म मात्रै नपुगे पनि बाँकी ६ वटा वडामा सडक सञ्जाल पुगिसकेको छ । ७ नं वडा मिल्चको केन्द्रमा मोटरबाटो पुगे पनि महांकाल गाउँपालिका हुँदै खानीखोला गाउँपालिकाको केन्द्र पुग्नुपर्ने अवस्था छ । अध्यक्ष कृष्णबहादुर खुलाल गाउँपालिका छिट्टै सबै वडा सडक सञ्जालमा जोडिने बताउँछन् । ‘वडा र गाउँपालिकाका केन्द्र जोड्ने सडक केही समयमा नै सम्पन्न हुन्छन्,’ उनले भने, ‘जिल्ला सदरमुकाम जोड्ने खोपासी–तालढुंगा सडक स्तरोन्नति गरी १२ महिना नै चल्ने बनाउँछौं ।’ उनका अनुसार सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट चार करोड विनियोजन भएको छ । ‘अप्ठ्यारो रहेको कोप्रेभीरमा आवश्यक संरचना निर्माण गरेर सबै मौससमा गाडी चल्ने बनाउँछौं,’ उनले भने ।
सडकको दुरवस्थाका कारण भक्तपुर, काठमाडौं, ललितपुर हुँदै तीन जिल्लाको फन्को लगाएर १२ घन्टामा गाउँपालिकाको केन्द्र तालढुंगा पुग्ने गरेको भए पनि बर्सातमा त्यो पनि सम्भव छैन । कान्ति लोकपथअन्तर्गत भट्टेडाँडा क्षेत्रमा पहिरो खसेसँगै पटकपटक यातायात अवरुद्ध हुने गरेको छ । ललितपुरको ठूलादुर्लुङ खोलामा आउने बाढीका कारण यातायात चल्दैनन् । नियमित ओहोरदोहोर गर्नेहरू काठमाडौं–कुलेखानी हुँदै हेटौंडा पुगेर भोर्लेनीबाट पनि तालढुंगा आउने गरेका छन् ।
बाटो पुगेपछि विद्यालय पुनर्निर्माण
महाभारत गाउँपालिकाका सबै वडामा मोटरबाटो पुगेपछि विद्यालय पुनर्निर्माणले गति लिएको छ । यातायातको पहुँचले पुनर्निर्माणलाई तीव्रता दिन मद्दत मिलेको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शोभित श्रेष्ठका अनुसार महाभारतका ४९ मध्ये पुनर्निर्माण भइरहेका ३६ विद्यालयका ४८ भवनमध्ये ३२ वटा सम्पन्न भइसकेका छन । पाँचवटा तयार हुने अवस्थामा छन् । ‘भूकम्प गएको सुरुको वर्षदेखि नै महाभारतमा विद्यालय पुनर्निर्माण सुरु गरेका हौं, त्यो बेला ८ घन्टासम्म सामान बोकाएर निर्माण गर्‍यौं,’ इन्जिनियर श्रेष्ठले भने, ‘अहिले सबै वडामा मोटरबाटो पुगेपछि सहज भएको छ ।’
४४ विद्यालय भवन व्यवस्थापन समितिमार्फत र ग्रामोन्नति मावि एसियाली विकास बैंकको ऋण अनुदानमा नेपाल सरकारमार्फत निर्माण भइरहेका छन् । गोकुलेस्थित भैरव मावि भारतीय दूतावासको सहयोगमा निर्माण सम्झौता भई कम्पनी छनोटको चरणमा छ । तीबाहेक कम क्षति भएका विद्यालयमा मर्मत गरी शिक्षण सिकाइ क्रियाकलाप सुरु भएको इकाइले जनाएको छ । इकाइमार्फत महाभारतमा विद्यालय पुनर्निर्माणका लागि १७ करोड ६४ लाख रुपैयाँ विनियोजन भएकामा १२ करोड ३७ लाख खर्च भइसकेको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बाटो नभएका कारण केही विद्यालय बनाउन नसकिएको स्विकार्दै ती समस्या विस्तारै समाधान भएको तर्क गरे । ‘सबै वडामा मोटरबाटो नपुग्दा विद्यालय पुनर्निर्माण हुन सकेका थिएनन्, भए पनि ढिला भए,’ उनले भने, ‘अब ढुवानी गर्न सहज भएको छ ।’
गाउँमै नागरिकता
नागरिकता लिनकै लागि कम्तीमा तीन दिन खर्च गर्नुपर्ने डाँडापारिवासी गाउँमै सेवा सुरु भएपछि लाभान्वित भएका छन् । बनखुचौरमा ०७५ जेठ ९ बाट इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयले सहज महसुस गरेका हुन् । बूढाखानीका खिल ठाडामगरले मगरले गाउँमा नै सेवा पाएपछि सहज भएको बताए । इलाका प्रशासन कार्यालय प्रमुख राममणि काफ्ले दैनिक १०–१५ जना सेवाग्राही नागरिकताका लागि आउने गरेको बताउँछन् । उक्त कार्यालयबाट नागरिकता जारी, राहदानी सिफारिस, प्रमाणित र नाबालिक प्रमाणपत्र जारी हुन्छ । प्रमुख काफ्लेले नागरिकता जारी भए पनि फोटोसहितको मतदाता परिचयपत्र बनाउने सेवा भने अझै सुरु नभएको बताए । काफ्लेका अनुसार महाभारतका आठमध्ये सातवटा वडामा सचिव छैनन् । गाउँपालिकामा कार्यरत अधिकृत रेवती निरौलाले नै आवश्यक कागजपत्र तयार गरिदिने गरेका छन् । इलाका प्रशासन कार्यालयमा पनि स्थायी कर्मचारी एकजना मात्रै कार्यरत छन् । तीनजना करारमा छन् ।
०६९ मंसिर ९ को मन्त्रिपरिषद् बैठकले डाँडापारिको घर्तीछापमा साबिक घर्तीछाप, बनखुचौर, फोक्सिङटार, गोकुले, बूढाखानी, साल्मेचाकल, साल्धारा, फलामेटार, डाँडागाउँ र मिल्चे कार्यक्षेत्र तोकेर इलाका प्रशासन कार्यालय स्थापनाको निर्णय गरेको थियो । दरबन्दी कायम भएर बजेट छुटिए पनि कर्मचारी नगएका कारण सञ्चालनमा आउन सकेको थिएन । अपायक भएको भन्दै ०७५ वैशाख २४ मा मन्त्रिपरिषद्ले महाभारतका लागि बनखुमा इलाका प्रशासन कार्यालय राख्ने निर्णय गरेको थियो । खानीखोला र महाभारत गाउँपालिकामा सञ्चारको सुविधा पनि विस्तार भएको छ । दुवै गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल टावर राखेपछि डाँडापारिमा मोबाइल फोन सेवा सुरु भएको छ ।

प्रदेश ३

बिहेको भोलिपल्टै पत्नीको हत्या

- कान्तिपुर संवाददाता

धादिङ (कास)– धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् । गत मंसिर ९ गते धादिङ सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले २० वर्षीया अनिशा तामाङलाई दुलहीका रूपमा भित्र्याएका थिए । मकवानपुरकी अनिशालाई बिहे गरेको भोलिपल्टै हत्या गरी शौचालयको सेप्टिक ट्यांकीमा लुकाएको खुलेको हो । शव लुकाउन अर्जुनका काका छवि थापा मगर र आफन्त इन्द्रबहादुर थापाले सघाएको
प्रहरीको भनाइ छ ।
मंसिर १० गते दिउँसोसम्म अनिशालाई देखेका छिमेकीले ११ गते बिहान घरमा नदेखेपछि अर्जुनलाई सोधखोज गरेका थिए । उनले माइतीघर गएकी भनेर टारेका थिए । केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको ?’ अर्जुन र उनका केही आफन्तले ‘गोरु मरेको’ जवाफ दिए । वरिपरि कसैको गाईगोरु नमरेको र अनिशा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरे ।
गाउँलेले थाहा पाएपछि घटनाबारे प्रहरीलाई सूचना दिएको सिद्धलेक–३ का अध्यक्ष देवहादुर पुलामीले बताए । प्रहरीका अनुसार अर्जुनले बिहे गरेर ल्याएको भोलिपल्ट राति घाँटी थिचेर हत्या गरेका हुन् । प्रहरीले अर्जुनसहित उनका काका छवि र आफन्त इन्द्रलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट हत्या गरेको खुलेकाले तीनैजनालाई कर्तव्य जानमुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।
सेप्टिक ट्यांकीको ढकनी खोली ब्ल्यांकेटमा पोको पारेर हालिएको अवस्थामा शव भेटिएको थियो । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । उक्त घटनाबारे माइती पक्षलाई पनि जानकारी गराइएकेको प्रहरीले जनाएको छ ।

प्रदेश ३

प्रदेशसभा तीन महिनादेखि सुनसान

- सुवास विडारी

(मकवानपुर) - सांसद र मन्त्रीको चहलपहल हुने प्रदेशसभा अहिले सुनसान छ । तीन महिनादेखि प्रदेश ३ को प्रदेशसभा बैठक
स्थगित हुँदा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच हुने बहस पूर्ण रूपले ठप्प छ भने हिउँदे अधिवेशन कहिले बस्ने भन्ने टुंगो लागेको छैन ।
सरकारले बिजनेस दिन नसकेपछि प्रदेशसभाको बैठक भदौ २५ गते बजेट अधिवेशनपछि सकिएको हो । ‘तत्काल प्रदेशसभाको बैठक बोलाउने विषयमा छलफल भएको छैन,’ प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले भने, ‘प्रदेशसभालाई चाहिने आवश्यक बिजनेसको तयारीमा मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ ।’
वर्षे अधिवेशन स्थगितसँगै हिउँदे अधिवेशन सञ्चालनका लागि प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष आग्रह गर्नुपर्ने हुन्छ । तर, स्थायी राजधानी र नामकरणको विषयमा सत्तापक्ष नेकपाभित्र सहमति नभएसम्म प्रदेशसभाको बैठक राख्ने पक्षमा सरकार देखिन्न । प्रदेशसभामा विभिन्न समयमा सम्बोधन गर्ने क्रममा प्रदेशको राजधानी र नामकरणको विषयमा छिट्टै टुंग्याइने आश्वासन मुख्यमन्त्री तथा मन्त्रीहरूबाट भए पनि त्यसको कार्यान्वयन नभएपछि सत्तापक्ष र प्रतिपक्ष दुवै अहिले रुष्ट छन् ।
अहिले प्रदेशसभामा सरकारका तर्फबाट कुनै पनि विधेयक दर्ता नभएको र अन्य छलफलका विषयलाई समेत प्रदेशसभामा नल्याएको सभामुख सानुकुमार श्रेष्ठले बताए । प्रदेशसभा स्थगित भए पनि अहिले विभिन्न संसदीय समितिको बैठक बेलाबेलामा बस्ने गरेको छ । समितिले सरकारको कामकारबाहीका विषयमा समीक्षा गर्दै निर्देशन दिने काम गरिरहेको सभामुख श्रेष्ठ बताउँछन् । ‘सदन नचले पनि समितिका बैठकले सरकारको निगरानी र निर्देशनको काम भइरहेको छ,’ उनले भने, ‘अबको हिउँदे अधिवेशनले राजधानीको नामकरण र स्थानबारे टुंगो
लगाउँछ । यसका लागि कार्यविधि पास गरिसकेका छौं ।’
प्रदेश ३ मा नेकपाको स्पष्ट बहुमत भए पनि राजधानीको विषय पेचिलो बनिरहेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले यसबीच राजधानीको विषय टुंगो नलगाई प्रदेशसभा बैठक आह्वान नहुने बताइसकेका छन् । बजेट अधिवेशन सुरु हुनुअघि सरकारले राजधानी टुंगो लगाउने कार्यविधि पारित गराएको थियो । तर, त्यो कार्यविधि अघि बढ्न सकेको छैन । राजधानीको विषयमा सभामुख आफैंले अग्रसरता देखाएर कार्यविधि ल्याएको भए पनि सरकारलाई दबाब दिएर सभामुख श्रेष्ठले यो विषय अगाडि बढाउन भने सकेका छैनन् । राजधानी सम्भाव्यता अध्ययन समितिले काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुरमध्ये एउटा राजधानीका लागि उपयुक्त हुने प्रतिवदेन पेस गरेको लामो समयपछि सरकारले कार्यविधि सदनबाट पारित गराएको थियो ।
प्रदेशसभामा हालसम्म चारवटा अधिवेशन सकिएको छ । त्यसबीच एक सय २७ वटा बैठक बसेका छन् । प्रदेशसभाले हालसम्म ४५ वटा विधेयक पास गरिसकेको र ४४ वटा प्रमाणीकरण भइसकेको प्रदेशसभा सचिव रामशरण घिमिरेले जानकारी दिए । प्रदेशसभा नियमावली पनि संशोधन भइसकेको छ । प्रदेशसभामा पाँचवटा विषयगत समिति छन् ।

Page 5
उपत्यका

चिकित्सक संघमा दुई प्यानल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मुलुकभरका डाक्टरको छाता संगठन नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणीको तीनवर्षे कार्यकालका लागि शनिबारदेखि चुनावी प्रक्रिया सुरु भएको छ । सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसनिकट चिकित्सकहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा लोचन कार्की र प्रगतिशील पेसागत समूहबाट पुष्पमणि खरालले शनिबार प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तासँगै दुवै समूहले मधेसकेन्द्रित दलनिकट र स्वतन्त्र चिकित्सकको मत आफ्नोतर्फ तान्न पहल थालेका छन् । प्रमुख चुनाव अधिकृत बाबुराम मरासिनीका अनुसार महासचिव पदका लागि बद्री रिजाल, अजयकुमार मिश्र, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले उम्मेदवारी दिएका छन् । संघको केन्द्रीय कार्यकारिणी समितिको ०७६–७९ कार्यकालका लागि ३१ जना चिकित्सकले उम्मेदवारी दर्ता गराएका छन् । चिकित्सक संघ ००७ सालको राजनीतिक परिवर्तनपछि स्थापित पहिलो पेसागत संगठन हो । संघमा हाल ९ हजार ८ सय ९० मतदाता छन् । उम्मेदवारहरूलाई चुनाव प्रचार गर्न एक महिनाजति समय दिइएको छ ।

उपत्यका

कात्तिक नाचलाई एक करोड

- कान्तिपुर संवाददाता

ललितपुर (कास)– ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण र प्रवर्द्धनका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेको छ । शनिबार भएको कात्तिक नाच समापन पूजामा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले नाच सञ्चालनको खर्च जुटाउन अक्षय कोष स्थापनाका लागि एक करोड दिने घोषणा गरेका हुन् ।
नाच प्रवर्द्धन गर्न १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने कात्तिक नाच संरक्षण समितिको योजना छ । सांसद कृष्णलाल महर्जनले संस्कृति मन्त्रीलाई भेटेर यस विषयमा जानकारी गराइसकेको बताए । कोषका लागि संस्कृति मन्त्री योगेश भट्टराई र ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले १०/१० लाख रुपैयाँ दिने घोषणा गरिसकेका छन् । १२ दिनमा सीमित नाचलाई अब एक महिनासम्म सञ्चालन गर्न अक्षयकोष स्थापना गर्न लागिएको समितिका अध्यक्ष किरण चित्रकारले बताए । ‘जात्रा चलाउन हरेक वर्ष सबैतिर गुहार्नुपर्ने अवस्था छ । कोष खडा गरेर त्यसबाट आउने ब्याजले सहजै जात्रा सञ्चालन गर्न लागेका हौं,’ उनले भने । उनका अनुसार १२ दिन जात्रा सञ्चालन गर्न हरेक वर्ष ११ लाख रुपैयाँ खर्च हुन्छ । नाचका लागि मात्रै ७ लाख लाग्छ । नेपाल भ्रमण वर्ष २०२० मा कात्तिक नाच एक महिना सञ्चालन गर्ने योजना रहेको चित्रकारले बताए । नाचका लागि कलाकारले चार महिना अभ्यास गर्छन् । ६० कलाकारका लागि मात्रै दैनिक चिया खर्चमा ६ हजार खर्च हुने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले बताए ।
मल्लकालीन राजा सिद्धिनरसिंहले नेपाल सम्वत् ७६१ मा नाच सुरु गरेको मानिन्छ । विसं २००६ सम्म जात्रा एक महिना चलेको अभिलेख छ । २००७ मा भएको आन्दोलनले महिना दिन पूरा चलेन । २००८ देखि ०३७ सम्म वराह र नरसिंह अवतार नाच दुई/दुई दिनमात्र चल्यो । कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि ०३८ देखि ०६९ सम्म प्रत्येक वर्ष आठ दिन सञ्चालन भयो । ०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीलासहित १० दिन र ०७१ देखि ०७६ सम्म १२ दिन सञ्चालन गरिएको थियो ।

उपत्यका

चाँगुनारायणमा फेरि चोरी

विश्वसम्पदा सूचीमा रहेको मन्दिर सुरक्षा घेराभित्र भए पनि एक महिनाबीचमा यहाँ दुईपटक चोरी भयो
- लीला श्रेष्ठ
विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र परिसरको जीर्ण चौघेरा सत्तल । भूकम्पले क्षति पुर्‍याएको सत्तलको पुनर्निर्माण भइरहेको छ । तस्बिर ः लीला/कान्तिपुर

(भक्तपुर) - भूकम्पले चाँगुनारायण मन्दिरमा क्षति पुर्‍याएपछि सुरक्षाका लागि सशस्त्र प्रहरीको अस्थायी क्याम्प मन्दिर परिसरमै राखिएको छ । सत्तल पुनर्निर्माणका लागि खटिएका कर्मचारी मन्दिरनजिकै बस्छन् । करिब तीन सय मिटरको दूरीमा महानगरीय प्रहरी प्रभाग चाँगुनारायणको कार्यालय छ । गत मंसिर २ गते राति यही मन्दिरबाट अष्टबाहु नारायण (विष्णु) को मूर्ति चोरिएको थियो । बिहीबार रातिमात्रै पूजामा प्रयोग हुने ढलौटका पूजासामग्री हराए । एक महिना नपुग्दै दुईपटक चोरी हुँदा स्थानीयले मन्दिरको सुरक्षाप्रति नै शंका व्यक्त गरेका छन् ।
मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायका अनुसार मूल पुजारीको सत्तलबाटै शंख र नाग आकृतिका ढलौटका भाँडाकुँडा चोरी भएको हो । ‘सत्तलको ढोका फोडेर शंख, अर्घ्य राख्ने कलात्मक तीन सेट भाँडा (प्रति सेटमा ८ वटा हुन्छन्), दियो, पानीभाँडालगायत सामग्री चोरी भएको छ,’ विकास समिति अध्यक्षसमेत रहेका राजोपाध्यायले भने । यसअघि सत्तल पुनर्निर्माण गर्ने क्रममा ख्वापाबाट झिकेर राखेको अष्टबाहु नारायणको मूर्ति चोरी भएको थियो ।
सुरक्षा घेराबाटै मल्लकालीन अष्टबाहु नारायणको मूर्ति चोरी हुनु, मूल पुजारी घरबाट पूजा सामग्री चोरी हुनु दुर्भाग्य भएको स्थानीय बासिन्दा बताउँछन् । ‘पुरातत्त्व, गुठी संस्थान, नगरपालिका, सुरक्षा निकाय, स्थानीय बासिन्दाको लापरबाहीले मन्दिर थप असुरक्षित बन्दै गएको छ,’ चाँगुनारायण नगरपालिका–४ का कपुर थापाले भने, ‘पुनर्निर्माणको नाममा प्राचीन सम्पदा ठेकेदारलाई सुम्पिँदा सुरक्षामै शंका गर्न थालेका छौं ।’
युनेस्कोले मन्दिर सुरक्षाका लागि राखेको चारवटा सीसी क्यामेरासमेत बिग्रिएको छिन्नमस्ता मन्दिरका पुजारी कैलाशमान कर्माचार्यले बताए । ‘मर्मत गर्न सम्बन्धित निकायलाई निवेदन दिए पनि कसैले वास्ता गरेको छैन,’ उनले भने । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरलाई यसबारे केही जानकारी नभएको पुरातत्त्व अधिकृत मोहनसिं लामा बताउँछन् । ‘युनेस्कोले
सीसी क्यामेरा जडान गरेको भन्ने सुनेको मात्र हो, हामीलाई हस्तान्तरण गरेको थिएन,’ उनले भने, ‘क्यामेरा कसको निगरानीमा थियो/थिएन पनि थाहा छैन ।’
चाँगुनारायण परिसरबाट मूर्ति चोरी भएको यो नौलो घटना भने होइन । राजोपाध्यायका अनुसार ०३३ सालमा किलेश्वर महादेवको ७ सय ९२ तोला चाँदीको मूर्ति चोरी भएको थियो । उक्त मूर्ति फेला नपरेपछि झन्डै १० वर्षपछि तामाको मूर्ति बनाएर प्रतिस्थापन गरियो । मन्दिर परिसरबाटै ०३१ मा ढलौटको कृष्णको मूर्ति हरायो । करिब दुई दशकपछि नयाँ मूर्ति बनाएर त्यहाँ प्रतिस्थापन गरेको राजोपाध्यायले बताए । त्यस्तै, चाँगुनारायण मन्दिर मूलद्वारको बायाँतर्फको तामामा सुनको मोलम्बा (जलप) लगाएको नारायणको मूर्ति पनि सुरक्षित रहन सकेन । पञ्चायतकालमा चाँगुनारायण परिसरको विष्णु विश्वरुपाको बायाँतर्फको सूर्यको ढुंगाको मूर्ति पनि हराएको थियो । ‘लुटेराले मन्दिर सुरक्षाका लागि बसेका प्रहरीलाई खुकुरी देखाएर सूर्यको मूर्ति लुटेका थिए,’ मूल पुजारी राजोपाध्यायले भने ।
चाँगुनारायण पूर्वतर्फको पारिजातको रुखमुनि रहेको टेराकोटा (माटो) को शिव मूर्तिलगायत अन्य मूर्ति हराउँदै गएका छन् । कुन–कुन समयमा ती मूर्ति हराए, कसैले अभिलेख राखेको छैन । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान भने हराएका मूर्तिको खोजी भइरहेको बताउँछन् । ‘मन्दिरलगायत पुरातात्त्विक महत्त्वका स्थलमा अमूल्य वस्तुको सुरक्षाका लागि प्रविधिमैत्री सूक्ष्म निगरानी राख्नैपर्छ,’ उनले भने ।
सुस्त पुनर्निर्माण
प्राचीन चाँगुनारायण मन्दिर भूकम्पपछि जीर्णोद्धार भएको डेढ वर्ष भइसके पनि चौघेराका सत्तलको पुनर्निर्माणको काम कछुवाको गतिमा भइरहेको छ । चाँगुनारायण नगरपालिका–४ का वडाध्यक्ष बुद्विलाल महर्जन ठेकेदार कम्पनीले पुनर्निर्माण गर्ने नाममा जथाभावी सत्तल भत्काउने, कलात्मक काठ, पुरातात्त्विक सामग्री लथालिङ बनाउने काम गरेको आरोप लगाए । अझै कतिपय पुरातात्त्विक सामग्री खुला आकाशमा छरिएको किलेश्वर महादेव मन्दिरका पुजारी रामप्रकाश भट्ट बताउँछन् । ‘विश्वप्रसिद्व प्राचीन मन्दिर पुनर्निर्माण हुँदा नक्सा, डिजाइनसहित प्राविधिक बस्नैपर्थ्यो,’ उनले भने, ‘ठेकेदारको भरमा पुरातत्त्व कानमा तेल हालेर बसेको छ ।’ विभागले भने मन्दिर र सत्तलको महत्त्वपूर्ण पुरातात्त्विक निर्माण सामग्री संरक्षणका लागि जस्तापाताको टहरा बनाएर भण्डारण गरेको जनाएको छ ।
विभागका पुरातत्त्व अधिकृत मोहनसिं लामाका अनुसार चौघेरा सत्तल पुनर्निर्माणका लागि ०७५ माघ २ मा लुम्बिनी/सानु सुवाल/पवन जेभीसँग सम्झौता भएको थियो । हाल मन्दिर परिसरको दक्षिण पश्चिमतर्फको चौघेरा सत्तल पुनर्निर्माण भइरहेको छ । उत्तरपश्चिम र पश्चिमतर्फको पाटीमध्ये मूल पुजारीको सामान राख्ने सत्तलबाहेक क्षतिग्रस्त संरचना भत्काउने काम भएको उनले बताए ।
सत्तल निर्माणका लागि पुरातत्त्व विभागले सुरुमा २४ करोड रुपैयाँ लागत अनुमान निकालेको थियो । बोलपत्र प्रक्रियामा जाँदा निर्माण कम्पनीसँग करसहित १६ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । ०७८ असार १५ भित्र चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल निर्माण गरिसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

उपत्यका

डोजर लगाएर खुलामञ्च सफाइ

- कान्तिपुर संवाददाता

(काठमाडौं) - टुँडिखेललाई खुला बनाउन माग गर्दै ‘अकुपाई टुँडिखेल’ अभियान चलाइरहेका अभियन्ताले शनिबार डोजर लगाएर खुलामञ्च सफाइ गरेका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएको भन्दै उनीहरूले डोजर लगाएर सम्याएका हुन् । उनीहरूले उक्त क्षेत्रमा सरसफाइसमेत गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीको अगुवाइमा खुलामञ्च सफाइ गरिएको हो । खुलामञ्चलाई पुरानै ढाँचामा ल्याउने प्रयासस्वरूप डोजर चलाइएको उनले बताए । फोहोर र माटो थुपारिएर अस्तव्यस्त बनेको खुलामञ्च डोजर लगाइएपछि सफा देखिएको छ । यसक्रममा शिक्षक, विद्यार्थी, प्रहरी, कर्मचारीलगायत सहभागी थिए । ‘यो सांकेतिक विरोध हो,’ अभियानका संयोजक विजय श्रेष्ठले भने, ‘टुँडिखेल खुला ठाउँ मात्र होइन, सामाजिक क्रियाकलाप हुने स्थल पनि हो । यसको सांस्कृतिक, वातावरणीय महत्व छ ।’
यही मौकामा काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो । ‘मैले त्यहाँ पढाउने हुनाले सामाजिक, सांस्कृतिक विषयको कसरी रिर्पोटिङ गर्ने भनेर सिकाउन ल्याएको हुँ,’ शिक्षिका विनिता दाहालले भनिन् ।
टुँडिखेललाई खुला गर्ने उद्देश्यले गत कात्तिक २३ गते विश्व स्वतन्त्रता दिवसका दिनदेखि अभियान सञ्चालन भइरहेको छ । पहिलो दिन मानव साङ्गालेले टुँडिखेल घेेरिएको थियो । त्यसयता टुँडिखेलमा खरीको बोट रोप्ने, साहित्यि जमघट, सम्पदामाथि पुस्तक चर्चार्, मैत्रीपूर्ण खेलजस्ता कार्यक्रम भइरहेका छन् । अभियान तीन महिना चल्ने अभियन्ताले जनाएका छन् । रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेल विभिन्न खण्डमा विभाजन भइसकेको छ । खुलामञ्चमा अहिले बसपार्क राखिएको छ । खुलामञ्चकै केही भाग दरबार हाइस्कुलका ठेकेदार बस्न प्रयोग भएको छ । अर्को छेउमा भने निजी गाडी पार्क गर्न प्रयोग भइरहेको छ । टुँडिखेलको दक्षिणतिरको भागमा नेपाली सेनाले कतै भवन र कतै खेलकुदका लागि प्यारापिट बनाएको छ ।

उपत्यका

जग खन्दा ढुंगेधारा

- दामोदर न्यौपाने
हात्तीसारमा भवन बनाउन ठिक्क पारेको ठाउँमा उत्खनन् गर्दा भेटिएको ढुंगेधारा । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - भवन बनाउन ठिक्क पारेको ठाउँ उत्खनन् गर्दा प्राचीन ढुंगेधारा पत्ता लागेको छ । केही वर्षअघिसम्म सर्वसाधारणले पानी प्रयोग गर्दै आएको हात्तीसारस्थित ढुंगेधारा रहेको ठाउँमा भवन बनाउन थालिएपछि सम्पदा संरक्षण अभियन्ताले विरोध गरेका थिए । कित्ता नम्बर २६६३ र २६६४ मा रहेको सो जग्गा बुद्धलक्ष्मी गुरुङको नाममा छ । दुई महिनाअघि यहाँ भवन बनाउने उद्देश्यले डोजर चलाएपछि अभियन्ताले पुरातत्त्व विभाग गुहारेका थिए । विभागका अवकाशप्राप्त विज्ञ उद्धव आचार्यको नेतृत्वमा पुरातत्त्व अधिकृत विष्णु पाठक, भक्तलक्ष्मी महर्जन र प्रकाश खड्काको समूहले उत्खनन् गरेको थियो ।
ढुंगेधारामाथि भवन बनाउन लागेपछि काठमाडौं ठहिटीका सुविन मानन्धर, पाटनका सुदर्शन महर्जन, इन्दु ज्यापुनी, यंगाका नुरज बज्राचार्य, नक्सालका कर्मवीर बस्नेत, डल्लुका सुरेश डंगोल र नघलका यादव कायस्थको समूहले काम रोकेर उत्खनन् गर्न पुरातत्त्व विभागमा निवेदन दिएका थिए । स्थानीय सचिनकुमार तण्डुकारको नेतृत्वमा सम्पदा संरक्षण समिति बनाएर संघर्ष नै थालिएको थियो । उत्खनन् गर्दा ढुंगेधारको संरचना भेटिए पनि टुटी फेला परेको छैन । ‘ढुंगेधारा मास्ने उद्देश्यले नै टुटी गायब पारेर पुरिएको हो,’ कायस्थले भने, ‘टुटी भएको ठाउँमा कंक्रिट राखेर बलियो गरी छोपिएको रहेछ ।’ डोजर नलगाउन घरधनी गुरुङसँग आग्रह गरे पनि रातारात डोजर लगाएर जग्गा सम्याइसकेको उनले बताए । उत्खनन् क्रममा भेटिएको माटोको पाइपबाट पानी बगिरहेको छ । धारा वरिपरि इँटाको गारो लगाइएको छ । धारा उत्खनन्पछि डोजरले नै माटो हालेर छोपिएको छ ।
‘अब यसको अभिलेख राख्ने काम हुन्छ । कुन कालखण्डको हो भनेर बुझिरहेका छौं,’ विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘अध्ययन सकिएपछि अब के गर्ने भनेर छलफल गर्छौं ।’ यही ठाउँमा ०५४ सालतिरै भवन बनाउने प्रयास भएको थियो । नक्सा पास गर्न सिफारिस लिन जाँदा तत्कालीन वडाध्यक्ष किरण श्रेष्ठले रोकिदिएका थिए । त्यसपछि केही समय महानगरमा मुद्दा नै पर्‍यो । अहिले के भएको छ भन्ने जानकारी महानगरसँग छैन । ‘हामीले फाइल खोज्दा फाइलै भेटिँदैन,’ श्रेष्ठ भन्छन्, ‘यहाँ ढुंगेधारा भएको जानकारी पाएपछि मैले रोकिदएको हुँ । नक्साका लागि निवेदन आएपछि त्यसबेलाका नगर सदस्य पुरुषोत्तम खकुरेललाई फिल्ड हेर्न पठाएँ । धारा त पुरिइसकेको रहेछ ।’
उनका अनुसार त्यतिबेला जग्गा अमृतमान शाक्यको नाममा थियो । ०७२ सालमा गुरुङले शाक्यसँग यो जग्गा किनेकी थिइन् । २४ रोपनीमा फैलिएको जग्गा व्यक्तिको नाममा रहेको लामो समय भइसकेकाले के गर्ने भनेर यसै भन्न सक्ने अवस्था नरहेको विभागका प्रवक्ता कुँवरको भनाइ छ ।
नक्सालका सचिनकुमार तण्डुकार २५ वर्षअघिसम्म ढुंगेधाराको जमेको पानीमा पौडी खेलेको सम्झन्छन् । ‘सानो हुँदा ढुंगेधारबाट बाहिर पानी जाने निकासमा थुनिदिन्थ्यौं । थुनिएपछि पोखरी बन्थ्यो । त्यहाँ हामी पौडी खेल्थ्यौं,’ ४० वर्षीय तण्डुकारले भने ।
काठमाडौं महानगरपालिकाले ०५८ सालमा निकालेको वडा प्रोफाइलमा यो ठाउँमा ढुंगेधारा देखाइएको छ । त्यसबेला केशव स्थापित मेयर थिए । ‘२०२१ सालको नापीमा ढुंगेधारालाई पनि व्यक्तिकै नाममा दर्ता गरिएछ,’ तत्कालीन वडाध्यक्ष श्रेष्ठ भन्छन् । जग्गाधनी बुद्धलक्ष्मीका पारिवारिक सदस्य रामकाजी कोने नियमअनुसार काम अघि बढाएको दाबी गर्छन् । ‘मैले किनेको हुँ,’ उनले भने, ‘कानुनी प्रक्रियाअनुसार नै काठमाडौं महानगरपालिकाले नक्सा पास गरिदिएको छ ।’ यसका लागि सिफारिस दिने वडाध्यक्ष भरतलाल श्रेष्ठसँग कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

उपत्यका

आज महानगर दिवस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाले आइतबार २५औं महानगर दिवस मनाउँदै छ । ज्यापू समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँलाबाजाका २३ समूहका बाजा गुरुलाई सम्मान, थप दुई जीवित कुमारीलाई मासिक भत्ता, १० जना पत्रकारलाई महानगर सुशासन पत्रकारिता पुरस्कार, दीर्घकालीन सेवा दिइरहेका कर्मचारी, व्यक्तिगत र संस्थागत रूपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ । त्यस्तै ३२ वडाबाट तालिम पाएका स्थानीय साना उद्यमीबाट तयार पारिएका वस्तु तथा सामग्रीको प्रदर्शनी र मौलिक खाद्यवस्तुको प्रदर्शनी रहने महानगरले जनाएको छ । ०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

उपत्यका

संस्कृतमा पदाधिकारी नियुक्ति माग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकले विश्वविद्यालयमा क्षमतावान् पदाधिकारी नियुक्त गर्न माग गरेका छन् । गत भदौदेखि विश्वविद्यालय पदाधिकारीविहीन छ । नेसंवि प्राध्यापक संघले बिहीबार विज्ञप्ति जारी गर्दै पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेको हो । उपकुलपति, शिक्षाध्यक्ष, कुलसचिव, सेवा आयोगका अध्यक्ष, सदस्यलगायत पदाधिकारीको नियुक्ति योग्यता र नेतृत्व गर्न सक्ने गुणका आधारमा हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

उपत्यका

साइकल र्‍यालीमा मेयर

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– साइकल लेनको प्रचार गर्न काठमाडौं महानगरपालिकाले शनिबार साइकल र्‍याली गरेको छ । महानगरपालिकाको सहरी योजना आयोग र नेपाल साइकल सोसाइटीले आयोजना गरेको र्‍यालीमा मेयर विद्यासुन्दर शाक्य पनि सहभागी थिए ।
महानगरले तीनकुनेदेखि माइतीघरसम्म साइकल लेन बनाउन डिजाइन सार्वजनिक गरिसकेको छ । २५औं महानगर दिवसको अघिल्लो दिन र्‍यालीको सुरुवात गर्दै मेयर शाक्यले भने, ‘अहिले नै कुदाउँदा विभिन्न अप्ठ्यारो सामना गर्नुपर्छ । तर लेन बनिसकेपछि सहज हुन्छ ।’ काठमाडौंलाई साइकल सिटी बनाउने योजना उनको चुनावी घोषणापत्रमा पनि उल्लेख थियो । ठूला सडक महानगरको क्षेत्राधिकारभित्र नपर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए । साइकलमार्गसँगै पैदलयात्रीलाई सहजतापूर्वक हिँड्ने बाटो बनाउने, सडक सुरक्षा र पार्किङ व्यवस्थापन गर्ने योजना भएको उनको भनाइ छ ।
लेन व्यवस्थापन गर्ने, इन्जिनियरिङसम्बन्धी जानकारी पुस्तिका तयार पार्ने र एउटा साइकल लेनलाई अर्को स्थानीय तहसम्म समन्वय गर्ने योजना बनाइरहेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

उपत्यका

बौद्धमा पनि दमकल

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाले बौद्धस्थित रामहिटीमा निर्माण गरेको अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्र सञ्चालनमा आएको छ । मेयर विद्यासुन्दर शाक्यले दमकल भवनको शनिबार उद्घाटन गरे । अग्नि नियन्त्रण शाखा हनुमानढोकाका प्रमुख लीलाराज गाछाका अनुसार केन्द्रमा एउटा दमकल, एउटा भर्‍याङ, एउटा रेस्क्यु जिप र दुईवटा फायर बाइक राखिएका छन् । यी उपकरण सञ्चालन गर्न १५ जना चौबीसै घन्टा तैनाथ गरिएको छ । ६० मिटर अग्लो भर्‍याङ र ६ हजार लिटर पानी अटाउने क्षमता भएको तीनवटा दमकल खरिद प्रक्रियामा रहेको मेयर शाक्यले बताए । प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले बौद्ध क्षेत्रमा वारुणयन्त्र कार्यालय स्थापनापछि विपतको क्षति कम गर्न सकिने बताए । यहाँको भवन ८ करोड ६१ लाख १६ हजार ९ सय ९३ रुपैयाँ लागतमा निर्माण भएको हो । साढे तीन रोपनी जमिनमा निर्माण भएको भवनमा १ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी, अग्नि नियन्त्रक बस्ने ठाउँ, तीनवटा दमकल राख्ने ठाउँ र दुईवटा सुविधासम्पन्न कार्यक्रम स्थल रहेका छन् ।

उपत्यका

४१ जनाद्वारा रक्तदान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राजधानीको टुँडालदेवी मन्दिर परिसरमा शनिबार ४१ जनाले रक्तदान गरेका छन् । विशाल मिलन केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र प्रदेश सांसद सीता दाहालले ज्येष्ठ नागरिक दिव्यमणि दीक्षितलाई सम्मान गरेका थिए ।

Page 6
सम्पादकीय

खप्तडका नाममा दोहन

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको नेपाल भ्रमण वर्ष, २०२० दुई सातापछि सुरु हुँदै छ । आन्तरिक पर्यटनसमेत प्रवर्द्धन गर्न सरकारले देशभित्र पर्यटकीय गन्तव्यहरू तोकेको छ । तर, स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यहरूको सरकारी सूचीमा भएको खप्तड क्षेत्रको विकासका लागि विनियोजित ठूलो रकम कुनै काम नगरी दुरुपयोग भएको जुन यथार्थ सार्वजनिक भएको छ, त्यसले मुलुकको पर्यटन विकासको विद्रुप तस्बिर
प्रस्तुत गरेको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यमा कागज
मिलाएर वा रकम फरफारक गरेर वर्षौंदेखि ‘बेहिसाब’ भइरहेको मनपरी खर्च डरलाग्दो देखिन्छ ।
खप्तड क्षेत्रमा पर्यटकका लागि बाटोघाटो र बसोबासस्थल लगायतका पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १२ वर्षमा करिब आधा अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर, पर्यटकलाई घुम्न न सजिलो बाटो छ, न त गन्तव्य देखाउने कुनै संकेत चिह्न । स्थानीय गोठालोहरू नै हराउने ठूलठूला पाटनमा पर्यटकहरू ‘भगवान् भरोसा’ मा हिँड्नुपर्ने स्थिति छ । कदाचित् हराइहाले बाटो भेट्नै मुस्किल पर्छ । केही को त, बाटो भुलेर ज्यानै गएको छ ।
प्रतिवर्ष सरदर ५ हजार पर्यटक खप्तड पुग्छन् । १२ वर्षयता झन्डै १५ सय विदेशी र ५७ हजारभन्दा बढी स्वदेशी पर्यटकले खप्तड घुमिसकेका छन् । तर भूस्वर्ग भनेर चिनिने खप्तड पुग्नेहरूले त्यहाँको विकासका लागि केही नै नगरिएको अनुभव पाइलापाइलामा गर्छन् । बाटोघाटो मात्र होइन, त्यहाँ अझै पनि पर्यटकका लागि खान, बस्न सहज पूर्वाधारसमेत छैन । भएका केही सरकारी गेस्टहाउस अव्यवस्थित छन् । चिसोमा सकसपूर्ण तरिकाले रात कटाउन विवश छन् पर्यटक । एकै पटक ३०–३५ जनाको टोली गइदियो भने या एकै ठाउँमा कोचिएर सुत्नुपर्ने अवस्था छ ।
सरकारले व्यवस्थित पहल गर्न नखोजेको होइन । उक्त क्षेत्रको प्रवर्द्धनका लागि खप्तड क्षेत्र पर्यटन विकास समिति स्थापना भएकै १२ वर्ष भइसक्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग मात्र होइन, तत्कालीन जिल्ला विकास समिति बझाङ, अछाम, डोटी र बाजुरा तथा डोटीको पूर्वचौकी गाउँपालिकाले पनि पूर्वाधारका लागि ठूलो रकम खर्चिएका छन् । भएको खर्च र कागजअनुसार उक्त क्षेत्रमा ३० भन्दा बढी भवन हुनुपर्ने हो । विभिन्न ठाउँमा गरी धर्मशाला, प्रतीक्षालय, अतिथिगृह आदिका नाममा २२ वटा सानाठूला भवन र आठ ट्रस्ट, जहाँ एक पटकमा ३ हजारसम्मलाई खानेबस्ने व्यवस्था गर्न सकिनुपर्ने हो । तर यथार्थ अर्कै छ– जस्तापाता प्रयोग गरेर बनाइएका नाम मात्रका भवन धेरैको छानो हावाले उडाइसकेको छ, कतिपय भवन भत्किएका छन् । छाडा छाडिएका बस्तुभाउ र घोडाखच्चडको मलमूत्रले भवन ढाकिएका छन् । दुई–तीनवटा मात्रै दुःखसुख प्रयोग गर्न सकिने छन् । कारण, यी भवन प्रयोग गर्न होइन, केबल पैसा सक्ने उद्देश्यले निर्मित थिए ।
रोमाञ्चक यात्रानुभूति बटुल्न र प्रकृतिको मनोरम दृश्यावलोकन गर्न खप्तड पुग्नेहरूले जब बाटो भुलेर जीवनमै नपाएको दुःख भोग्छन् अनि बास बस्ने स्थल भेट्दैनन्, तब त्यस क्षेत्रप्रति उनीहरूको धारणा कस्तो बन्ला ? एकपटक बाटो भुलेर हराएपछि कतिले त बीचमै यात्रा टुंग्याउने गरेका छन् । यस्तो अवस्थाबाट गुज्रिएकाहरूले अरूलाई के सुनाउलान् र यसरी उक्त क्षेत्र र मुलुकको पर्यटन विकास कसरी होला ? खप्तडको प्रवर्द्धन र विकासका लागि छुट्याएको रकमजति हर्ताकर्ताको पोल्टामा जानु र पर्यटकहरू भने बाटो भुलेर उज्यालो पछ्याउँदै हिँड्नुपर्ने अवस्था रहनुले उक्त क्षेत्रको ख्यातिमै नकारात्मक असर पुर्‍याइरहेको छ ।
खप्तड क्षेत्र पर्यटन विकास समिति उक्त क्षेत्रको प्रवर्द्धन गर्न होइन, व्यवस्थित तरिकाले अनियमितता गर्न बनाइएको जस्तै भएको छ । अहिलेसम्म बनेका यसका अध्यक्ष र कार्यकारी निर्देशक जिम्मेवार भइदिएको भए बेथिति यो हदसम्म झाँगिँदैनथ्यो । अहिलेसम्म जेजति रकम खप्तडको विकासका नाममा खर्च भएको छ, त्यसको सदुपयोग मात्रै हुन सकेको भए, आज यो क्षेत्र अर्कै भइसक्थ्यो । सुविधाजनक भएपछि पर्यटकहरूको संख्यामा पनि गुणात्मक विकास हुन सक्थ्यो । यसले सुदूरपश्चिमको पर्यटन क्षेत्र मात्र होइन, आय बढेर समग्र विकासमै टेवा पुग्न सक्थ्यो । त्यसैले अब सम्बन्धित निकायहरूको ध्यान विगतका अनियमिततामा छानबिन गर्न/गराउन र अब हुने लगानीमा सावधानी अपनाउनमा केन्द्रित हुनुपर्छ । र, पर्यटकका लागि पूर्वाधारहरू अविलम्ब बनाइनुपर्छ ।

सम्पादकलाई चिठी

रोहिंग्या शरणार्थीका पक्षमा

आन्तरिक द्वन्द्व तथा अन्य कति कारणले आफ्नो भूमि म्यानमारबाट भाग्दैभाग्दै नेपालमा आएर अस्थायी बसोबास गरिरहेका रोहिंग्या शरणार्थीहरूलाई बसेको ठाउँ तत्काल खाली गर्न अल्टिमेटम दिइएको खबरले दुःखी बनायो । हामीलाई कुनै पनि देशको गाडी, घडी वा अन्य कुनै उत्पादन मन नपराउने अधिकार छ, तर मान्छेलाई घृणा गर्ने अधिकार छैन ।
मानव भएर मानवमाथि दया गर्न नसक्नु ठूलो कमजोरी हो । आपत्मा परेका शरणार्थीहरूले आफूलाई चाहिने सामानहरूको एउटा पोको मात्रै लिएर आउँछन्, देशलाई केही दिँदैनन् भनी कहिल्यै नसोचौं । इतिहास साक्षी छ, विज्ञानका पिता कहलाइने अल्बर्ट आइन्स्टाइन पनि शरणार्थी (आप्रवासी) नै बनेर अमेरिका छिरेका थिए । फ्रान्सलाई पछिल्लो विश्वकप जिताउनमा मुख्य भूमिका खेलेका पाउल पोग्बालगायत अधिकांश अफ्रिकी मूलका खेलाडीहरूको जरो खोज्दै जाँदा आपत्मा परी भाग्दैभाग्दै सानो पानीजहाजमार्फत यता छिर्न मिल्छ कि उता छिर्न मिल्छ भन्ने अन्योलमा रुमलिँदै, धेरै देशको अस्वीकृतिपछि बल्लबल्ल फ्रान्स छिर्न पाएका शरणार्थीहरूसम्म पुग्छ । रोहिंग्या शरणार्थीहरूलाई पनि हामीले उनीहरूको देश फिर्ती वा अन्य उचित व्यवस्था नहुन्जेल पाहुनासरह सहर्ष स्वीकार गर्नुपर्छ, सुरक्षित आवास र कामको व्यवस्था गर्नुपर्छ । मानवता कुनै पनि देशको कानुन, धार्मिक व्यवस्था वा राष्ट्रवादभन्दा धेरै माथिको विषय हो ।
– जगदीश पोखरेल, गोंगबु, काठमाडौं

सम्पादकलाई चिठी

बहुपहिचानका आधारमा प्रदेश नामकरण

प्रदेशका नाम र राजधानीमा अहिलेसम्म विवाद आइरहनु र कतिपय चाहिँ नाम तथा राजधानी तोक्नै नसक्नु अचम्मलाग्दो छ । नाम र राजधानीबारे प्रदेशसभा सांसदहरूबीच एकमत नदेखिनु विडम्बना नै हो । प्रदेश सरकारहरू गठन भएको दुई वर्ष पुग्न लागिसक्यो । यो बेलासम्म सबैले नाम र राजधानी
टुङ्गो लगाइवरी विकास गतिविधिलाई तीव्रता दिइसक्नुपर्ने थियो । तर, अझै नाम र राजधानीमै अल्झिरहेका छन् । मानौं तिनको काम त्यही मात्र हो । अर्को कुरा, प्रदेशलाई कुनै एउटा जाति वा समुदायको नाम दिने गाइँगुइँ पनि सुन्नमा आइरहेको छ । त्यस्तै भए भविष्यमा एकल पहिचानका लागि फेरि द्वन्द्व निम्तिने पक्का छ । जस्तै– म प्रदेश १ को मतदाता हुँ, जसका लागि किरात कोसी, सगरमाथा किरात कोसी जस्ता नामबारे छलफल चल्ने गरेको छ । तर, योभन्दा कुनै नदी, हिमाल अथवा कुनै पर्यटकीय क्षेत्र वा कुनै प्राकृतिक पहिचानका आधारमा नाम राख्नेबारे छलफल गर्दा राम्रो हुने थियो । किरात राख्दा भोलि लिम्बुवान, खम्बुवान, खस सबैले हाम्रो पनि नाम हुनुपर्छ भन्दै आन्दोलन चर्काए त्यसको जिम्मा कसले लिने ? यो राज्य कुनै एउटा समुदायको मात्र हो ? यसले भोलि जातीय लडाइँका लागि मार्गप्रशस्त गर्ने देखिन्छ । बहुजाती, बहुभाषा, बहुधर्म, बहुसंस्कृति भएको प्रदेशलाई समुदाय विशेषको नाम दिनु भनेको समस्याको बीजारोपण गर्नु हो । त्यसैले यसमा उच्च तहका नेताहरूले हस्तक्षेप गर्न जरुरी छ । यस्तै, राजधानी पनि सबै जिल्लालाई केन्द्रमा पर्ने किसिमले तोक्नु राम्रो हुन्छ ।
– गोविन्द विक, बूढानीलकण्ठ–१२, कपन, काठमाडौं

सम्पादकलाई चिठी

काठमाडौं नयाँ सहरको तस्बिर

काठमाडौं उपत्यकाभित्र मूलतः यातायात, खानेपानी र खुलाचौर जस्ता समस्यालाई केही हदसम्म समाधान गर्न र विश्वस्तरीय सुविधासम्पन्न हुने गरी उपत्यकाका चारै कुनामा चार नयाँ बसाउने प्रस्ताव उत्साहबर्द्धक छ । काठमाडौं जिल्लाका कागेश्वरी र शंकरापुर नगरपालिकाका केही वडा तथा भक्तपुरका चाँगुनारायण, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका केही वडाका समेत गरी १ लाख रोपनीभन्दा बढी जग्गामा ल्यान्ड पुलिङ सिस्टमबाट निर्माण हुने काठमाडौं नयाँ सहर गुरुयोजनाको विस्तृत अध्ययन तयार भइसकेको छ । फिनल्यान्डको हेलिन एन्ड को. आर्किटेन्टस् र जेके एसोसियटलाई संयुक्त रूपमा प्राप्त भएको अध्ययनले मुलुककै एउटा नमुना सहरको डीपीआर तयार भएको अवस्था छ ।
प्रस्तावित नयाँ सहर भूकम्प प्रतिरोधी र अत्याधुनिक सुविधासम्पन्न भवनहरूले सजिएको नेपालकै एउटा नमुना क्षेत्र बन्न सक्ने देखिएको छ । यो सहरमा आधुनिक बस्तीलाई चाहिने स्कुल, कलेज, अस्पताल, रंगशाला, खेलमैदान, बालउद्यान, पौडी पोखरी, हरियाली पार्क, आवश्यक चौडा सडक, पैदल मार्गका लागि सडक पेटी, साइकल मार्ग, अपांगमैत्री मार्ग आदि रहने योजना छ । प्रत्येक घरमा वृक्षरोपण गर्ने अनिवार्य योजना पनि यो अभियानमा नौलो हुन सक्छ ।
हाम्रा सहरमा रहेका बिजुली र टेलिफोनका खम्बाहरूमा तारको अव्यवस्थालाई ध्यानमा राखी यो काठमाडौं नयाँ सहरमा प्रयोग हुने विद्युतीय टेलिफोन र अन्य नेटवर्किङका तारलाई जमिनमुनिबाट लैजानका लागि सर्भिस कोरिडर बनाउने प्रयास आफैंमा विशिष्ट छ ।
प्रस्तावित नयाँ सहरको बीचबाट बहने मनहरा खोलाका विभिन्न भागमा जलाशय निर्माण गरी पर्यटकलाई आकर्षित गर्नुका साथै खोलाका दुवै तर्फ तटबन्ध बनाइने भएको छ । काठमाडौं उपत्यकाको भूतलीय/भौगर्भिक जलस्तर २० वर्षयता तलतल झरिरहको छ । बस्ती विस्तार हुँदा जमिनजत्ति ‘सिमेन्टेड’ भएर र टाइल छापेर टालिँदै गई आकाशबाट परेको पानी सोझै खोलामा जाने तथा जमिनले सोस्न नपाउने समस्या एकातर्फ छ भने व्यक्तिगत प्रयोग, होटल, मिल फ्याक्ट्री, अस्पताल, स्कुल कलेज, अपार्टमेन्ट आदिले दैनिक अनगिन्ती लिटर जमिनमुनिको पानी दोहन गरिरहेको हुँदा यो समस्या बढेर गएको हो । नयाँ सहरमा आकाशेपानीले जमिनमा भिज्ने व्यवस्था गरिएको छ भने सहरका विभिन्न भागमा कृतिम ८ वटा तलाउ निर्माण गरिनेछन् ।
सहरमा बाहिरी चक्रपथ तथा भविष्यमा निर्माण हुने मेट्रो रेलको संगम स्थलमा सिटी सेन्टर बन्दै छ । समयको बचत तथा ट्राफिक व्यवस्था चुस्त–दुरुस्त राख्न चाँगुनारायण पूर्वतर्फ निर्माण हुने टनेलले थप मद्दत पुर्‍याउने आशा राखिएको छ । ट्राफिक जामको समस्या हटाउन वान–वे ट्राफिक र वैकल्पिक मार्गसमेतको व्यवस्था गरिएको छ । फ्लाइओभर र अन्डरपास यातायातको समेत व्यवस्था गरिने हुँदा मौजुदा सहरमा जस्तो ट्राफिक जामको समस्या नयाँ सहरवबासीले भोग्नुपर्ने छैन ।
अहिले भएका काठमाडौं उपत्यकाभित्रका सहरजस्तो साँखु, कीर्तिपुर, ललितपुर, भक्तपुर, काठमाडौंका विभिन्न भागहरू समेत यस्ता आधुनिक सुविधासम्पन्न नभएकाले १ लाख रोपनीभन्दा बढी क्षेत्रफलको यो सहर निर्माण योजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा राखेको अर्थ नै यो योजना र सपना चाँडै साकार होस् भन्ने हो । काठमाडौं उपत्यका विकास प्राधिकरणको महत्त्वाकांक्षी र दीर्घकालीन रणनीतिको सहरी विकासको परिकल्पनामा हामी सबैको साथ–सहयोग अनिवार्य देखिएको छ ।
– झनकदत्त (जेडी) खनाल, बबरमहल, काठमाडौं

सम्पादकलाई चिठी

सूचनाको हक : भ्रष्टाचारको जालो च्यात्ने अस्त्र

अख्तियारले भ्रष्टाचारविरुद्ध दसवर्षे रणनीतिक योजना भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस पारेर डिसेम्बर ९ मा सार्वजनिक गर्‍यो । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अंगीकार पनि गरेको छ । यति हुँदाहुँदै ‘खप्तडमा गडबड’ शीर्षक समाचारले भ्रष्टाचार कति भयावह अवस्थामा पुगिरहेको छ भन्ने उजागर गरेको छ । खप्तड क्षेत्रमा बाह्र वर्षमा राज्य कोषबाट विनियोजित ५२ करोड ७० लाख ९१ हजार बराबरको बजेट दुरुपयोग भएको रहेछ । त्यस्तो नभएको भए करिब ६० हजार पर्यटक लाभान्वित हुने थिए, अहिलेसम्म । तर बाह्र वर्ष अगाडिको खप्तड र अहिलेको खप्तडमा खोइ परिवर्तन ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट २६ करोड ४ लाख २२ हजार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट १८ करोड ४ लाख ५९ हजार, नेपाल पर्यटन बोर्डबाट ३ करोड ५२ लाख ५७ हजार र पर्यटन बोर्डबाटै निकुञ्जमार्फत गरेको ५ करोड खर्चको राज्यद्वारा प्रभावकारी अनुगमन खोइ ?
सरकारबाट बजेट आउने भएपछि उपभोक्ता समितिका नाममा कसरी किर्ते गरी राज्यकोषको रकममा पदलोलुप स्वार्थी व्यक्तिहरूले मोजमस्ती गर्छन् र सिंगो समाजलाई सूचनाको हक नदिई गुमराहमा राखेर होटलमा पैसाको भागबन्डा गर्दा रहेछन् भनी बुझ्न गतिलो उदाहरण भएको छ यो समाचार । यो समस्या खप्तडको मात्र होइन, उपभोक्ता समितिमार्फत काम गर्नुपर्ने र गराउनुपर्ने सबै क्षेत्रको नियति हो । समितिका जिम्मेवार पदाधिकारी र ठेकेदारहरूको मिलेमतोबिना सम्भव हुन्न यस्तो काम । एउटै योजनाको कागजात मिलाई फरकफरक सरकारी निकायमा कामको झूटा प्रगति विवरण पेस गरेर दोहोरो–तेहरो भुक्तानी लिई भ्रष्टाचार गर्ने अखडाहरूमा यसरी नै किर्ते काम भइरहेको छ भनी सहजै बुझ्न सकिन्छ । खप्तड क्षेत्रको पदमार्गमा ४६ लाख खर्च देखाइएका संकेत चिह्न, सूचना बोर्ड र सूचना केन्द्रहरू खोइ ? बाबा आश्रम जाने बाटोमा चार, घोडा दाउना पाटनमा एक, खापर दहमा तीन र सहस्रालिंगमा एक, अछामबाट खप्तड छिर्ने बाटोमा ३० भन्दा बढी भवन डोटी भएर आउने बाटोमा दुइटा पक्की भवन र तीनटा ट्रस्ट कागजमा मात्र देखिने अवस्था कसरी आयो ? यसको नियमन कसले, कहिले गर्ने ?
यस्तो अनियमितता गरेका भनिएका खप्तड क्षेत्र पर्यटन विकास समितिमा अध्यक्ष र कार्यकारी निर्देशक भएका यमबहादुर बम (डोटी), प्रेमबहादुर सिंह (बझाङ), गणेशबहादुर सिंह (बझाङ), पदमबहादुर भण्डारी (बझाङ), मोहनबहादुर बम (डोटी) र यमराज कुँवर (अछाम) लगायतलाई अख्तियारले छानबिनको दायरामा कहिले ल्याउला ? सूचनाको हक फैलिँदो भ्रष्टाचारको जालो तोड्ने अस्त्र हो, तर राज्य नै सूचनाको हकलाई संकुचित गर्ने प्रयत्नमा लागेको देखिन्छ, जुन ठीक होइन ।
– नोदनाथ त्रिताल, चौबिसे–३, धनकुटा

खप्तडमा भ्रष्टाचारबारे समाचार पढेपछि पर्यटन विकासमा दत्तचित्त रहेका सबैको मन कुण्ठित भएको हुनुपर्छ । भूस्वर्गका नामबाट पनि चिनिने यस क्षेत्रको विकास बजेट कुम्ल्याउनेहरूको जति भर्त्सना गरे पनि कम हुन्छ । संलग्न सबैको यस्तो कुकर्म घोर निन्दनीय छ । प्रत्येक वर्ष यस्तै कुकृत्यले निरन्तरता पाएका कारण खप्तड क्षेत्र दयनीय बनेको हो । अकर्मण्यता, भ्रष्टाचार र लापरबाहीको पराकाष्ठा हो यो । पर्यटन मन्त्रालय कागजी घोडामा मक्ख पर्ने अनि प्रदेश सरकार मोजमस्तीमै रमाउने भएपछि दुर्गम ठाउँमा भष्मासुरहरूको बिगबिगी नभएर के हुन्छ !
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

दृष्टिकोण

संसदमा लैंगिक भूमिका

- बिन्दा पाण्डे

 

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै हाम्रो जनप्रतिनिधिमूलक संस्थामा महिलाको सहभागिताले अग्रगामी छलाङ मारेको छ । नीतिनिर्माणको उच्च थलो व्यवस्थापिका संसद २०६३ मा पुनःस्थापित हुँदासम्म जम्मा १२ महिला सांसद थिए । यो संख्या २०६३ माघमा अन्तरिम व्यवस्थापिका संसद गठन हुँदा ५७ पुग्यो । संविधानसभा गठन गर्दा कम्तीमा एकतिहाइ महिला उम्मेदवार हुनुपर्ने अन्तरिम संविधानको प्रावधान र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने सभासदमा महिला–पुरुष सहभागिता आधा–आधा हुनुपर्ने कानुनी व्यवस्थाका कारण २०६४ को पहिलो संविधानसभामा ३३ प्रतिशत महिला निर्वाचित भए । दोस्रो संविधानसभा (२०७०) मा प्रत्यक्ष निर्वाचनमा विजयी हुने महिलाको संख्या कम भएका कारण यो संख्या २९ प्रतिशतमा अडियो ।
तर, २०७२ को संविधानले संघीय संसद र प्रदेशसभामा नतिजामै एकतिहाइ महिला हुनुपर्ने अनिवार्य व्यवस्था गर्‍यो । परिणामतः २०७४ देखि निर्वाचित संघीय र प्रादेशिक संसदमा एकतिहाइ र स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति रहन पुग्यो । जननिर्वाचित संस्थामा वृद्धि भएको महिलाको यो सहभागितासँगै आम नागरिक, सञ्चार जगत् र राजनीतिक क्षेत्रमा समेत महिलाको भूमिकाबारे पटकपटक कुरा उठ्न थाल्यो । संघीय संसद सचिवालयले समेत भूमिका र क्षमता बढाउने नाममा महिला सांसद केन्द्रित गतिविधि गर्न थालेपछि स्वाभाविक रूपमा प्रश्न उठ्यो– के महिलाको मात्र भूमिका र क्षमता कमजोर हो ? पुरुष सांसदको भूमिका बढाउन जरुरी छैन ? महिला र पुरुष समान रूपमा सबैको जनप्रतिनिधि भएपछि बोल्ने अवसर मात्र होइन, क्षमता अभिवृद्धिका लागि गरिने गतिविधिमा पनि समान रूपमा सहभागी हुनुपर्छ कि पर्दैन ?
संसदको पाँचौं अधिवेशन सुरु हुन लागेकाले विगतमा उठान हुँदै आएका प्रश्नहरूको उत्तर खोज्ने क्रममा खास गरी वर्तमान प्रतिनिधिसभामा उपलब्ध समयको सदुपयोग गर्ने र अन्य विषयमा महिला र पुरुषको सहभागिता कस्तो रह्यो भन्ने विश्लेषण गर्नु सान्दर्भिक हुन्छ । यस लेखमा चालु संसदको दोस्रो, तेस्रो र चौथो अधिवेशन र विगतमा संविधानसभामार्फत संविधान लेखन प्रक्रियामा महिला र पुरुषको सहभागिता कस्तो रह्यो भन्ने विषयलाई तथ्यांकमा आधारित भएर हेर्ने प्रयत्न गरिएको छ ।

प्रतिनिधिसभामा सांसदको भूमिका (२०७४)
वर्तमान संसदको निर्वाचन भइसकेपछि खास गरी संसदमा हुने गतिविधि, शून्य समय, विशेष समय, सरकारको नीति कार्यक्रम, वार्षिक बजेट र विधेयकमाथि विचार राख्ने र प्रस्तावहरू दर्ता गरी त्यसमाथि छलफलको प्रक्रिया बढ्दा लैंगिक हिसाबले तथ्यगत आधार हेर्दा औसतमा महिला सहभागिता उपस्थितिभन्दा कम रहेन ।
शून्य समय ः संसदमा सबै सदस्यले समान हैसियतमा प्राप्त गर्ने समय शून्य समय हो । यसमा क्रमसंख्या अनुसार आफ्नो पालो परेको दिन सबैले एक मिनेटको अवधिमा आफूले चाहेको विषयमा संसदमा कुरा राख्न पाउँछन् । यस अवधिमा शून्य समय उपयोग गर्ने क्रममा महिला सहभागिता ४०.७ र पुरुषको ५९.३ प्रतिशत रहेको छ । यहाँ प्रश्न उठ्छ– ६७ प्रतिशत समय प्राप्त गर्ने पुरुष सांसदबाट यो समयको सदुपयोग ६० प्रतिशतभन्दा कम किन ?
विशेष समय ः पार्टीलाई छुट्याइएको समयबाट प्रमुख सचेतक/सचेतकसँग माग गरेर समय सन्दर्भका विभिन्न विषयको उठान गर्ने काम विशेष समयमा गरिन्छ । यो सबै सदस्यले समान रूपमा नभएर पहुँचका आधारमा समेत पाउने समय हो । यसमा महिलाको सहभागिता ३२ र पुरुषको ६८ प्रतिशत रहेको छ ।
विचार गरियोस् ः विधेयकमाथिको छलफलमा आफ्नो विचार राख्ने काम सांसदको मुख्य दायित्व र भूमिका हो । यो संसद सुरु भएपछि हालसम्म ५७ विधेयकमाथि विचार गरियोस् भन्ने छलफल भयो । विषयको जानकारी र विगतको अनुभवले पनि यसबारे बोल्ने विषयमा फरक पार्छ । पुरुषका तुलनामा धेरै महिला पहिलो पटक संसदमा आएका छन् । अर्कातर्फ, एकै दिनमा धेरै विधेयकमाथि विचार गरियोस् भन्ने छलफल राखियो, जहाँ सुझबुझका साथ तयारी गर्ने अवसर भएन । त्यसका बाबजुद विधेयकमाथि विचार राख्ने क्रममा महिलाको झन्डै ३० र पुरुषको ७० प्रतिशत सहभागिता रहेको छ ।
प्रस्तावहरू ः संसदमा विभिन्न प्रस्ताव दर्ता गराएर छलफल गराउने प्रावधान छ । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण संकल्प प्रस्ताव हो, जसको हैसियत कानुनसरह हुन्छ । यसबीच एउटा मात्र संकल्प प्रस्ताव ‘महिलाविरुद्ध हिंसा न्यूनीकरण’ का विषयमा छलफल भएको छ । कानुनसरहको मान्यता राख्ने संकल्प प्रस्तावमाथि छलफलमा भाग लिने दुईतिहाइ संख्या महिला सांसदको रह्यो । जबकि महिला हिंसाका पीडक पक्षको बहुसंख्या पुरुष भएका सन्दर्भमा यो विषयको बहसमा पुरुषको सहभागिता झनै बढी हुनुपर्थ्यो । अझ विडम्बना, संकल्प प्रस्तावको छलफलमा संसदको अघिल्लो लाइनमा बस्ने एक सांसद पनि सहभागी भएनन् । यसबारे सञ्चार जगत् पनि मौन नै रह्यो ।
यस अवधिमा जनताको जरुरी सरोकारको विषयका रूपमा छलफल हुने ‘जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव’ मा बोल्ने सांसदमध्ये महिला ३७.५ र पुरुष ६२.५ प्रतिशत रहे । यस अवधिमा जति प्रश्नहरू दर्ता गरिए र संसदमा सोधिए, तिनमा पनि लैंगिक अनुपातमा पुरुषभन्दा महिला सांसदको अग्रता रह्यो ।
नीति तथा कार्यक्रम र बजेट ः संसदको अर्को असाध्यै महत्त्वपूर्ण छलफल भनेको सरकारको नीति तथा कार्यक्रम र अनुमानित बजेटको प्रस्तावमाथि हुने छलफल हो, जुन वर्षको एक पटक हुन्छ । यस विषयमा बोल्नका लागि पार्टीगत रूपमा तोकिएको समयबाट दलको अनुमतिमा समय प्राप्त हुन्छ । विगत दुइटा अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र अनुमानित बजेटमा विचार राख्ने महिला र पुरुषको अनुपात क्रमशः ३४ र ६६ प्रतिशत
रह्यो । यसरी संसदमा हुने कुनै पनि छलफलमा महिलाको भूमिका र सहभागिता कमजोर छैन ।

संविधान निर्माण प्रक्रिया
संविधान निर्माणका सन्दर्भमा पहिलो संविधानसभाले विषयगत मस्यौदा तयार गरेर संविधानसभामा छलफल गराई सभासदको धारणा संकलन अनि परिमार्जनको काम गरेको थियो । ३३ प्रतिशत महिला सहभागिता रहेको उक्त सभामा विषयगत रूपमा आफ्नो मत जाहेर गर्ने महिला र पुरुषको अनुपात विषय अनुसार फरक रह्यो । संविधानसभा बैठकको कारबाहीको विवरण अनुसार मस्यौदामाथिको छलफलमा महिला र पुरुषको औसतमा सहभागिता क्रमशः ३४.३६ र ६५.६४ प्रतिशत हुन पुग्यो, जुन संविधानसभामा रहेको महिला उपस्थितिभन्दा राम्रो देखिन्छ ।
२०७० मंसिर १४ गते निर्वाचित दोस्रो संविधानसभामा महिला संख्याको २९.१ प्रतिशत रह्यो । तर पनि संविधानसभाभित्र संविधानको मस्यौदामाथि भएको छलफल र बहसमा महिलाको सहभागिता औसतमा ३०.१५ प्रतिशत रह्यो ।
नागरिकहरूको सुझाव संकलन गरी ल्याइएका विचार समावेश गरी तयार गरिएको प्रतिवेदनदेखि संविधानको अन्तिम मस्यौदासम्मको छलफल हुँदा औसतमा महिला र पुरुषको सहभागिता क्रमशः २८.५ र ७१.५ प्रतिशत रहेको थियो ।

निचोड
नेपालको संसदीय अभ्यासलाई हेर्दा महिला सहभागिता संख्यात्मक रूपमा वृद्धि हुँदै आएको छ । संसदीय गतिविधिमा उनीहरूको सहभागिता र हस्तक्षेपकारी भूमिकाको अनुपात संसदमा रहेको सहभागिताभन्दा राम्रो रहँदै आएको छ । दलको अनुमतिमा बोल्न पाउनेबाहेक स्वनिर्णयले उपयोग गर्न पाउने समयको सदुपयोगमा महिला अनुपात उपस्थितिभन्दा उच्च रहेको तथ्य वर्तमान संसदका तीनवटा अधिवेशनको आँकडा मात्र हेर्दा पनि देखिन्छ ।
तर नीति र कानुन निर्माणलाई सामाजिक न्यायको दृष्टिकोणबाट समान र सन्तुलित बनाउने सन्दर्भमा तीन पक्ष महत्त्वपूर्ण देखिए । एक– महिलाहरूको राजनीतिक दलभित्रको उपस्थिति, पदीय हैसियत र तार्किक हस्तक्षेप । दुई– साझा विषयमा दलगत दायराभन्दा फराकिलो महिला एकता, ऐक्यबद्धता र समन्वय । र, तीन– राजनीतिक दलभित्र मूलतः नेतृत्वको सोच/दृष्टिकोण, अभिव्यक्ति र व्यवहारमा आएको रूपान्तरण । यी तीन पक्षको सन्तुलनबाट मात्र नीति, कानुन र समाजलाई अग्रगमनको यात्रामा बढाउन सकिन्छ । यसका लागि समाज रूपान्तरणको प्रमुख संस्था राजनीतिक दलहरू रोलमोडल बन्न सक्नुपर्छ । त्यसो भएमा राज्य संयन्त्रका अरू अंग र समाजका अन्य निकाय पनि त्यही गोरेटोबाट अगाडि बढ्न प्रेरित हुन सक्छन् । अनि, सुशासन र समृद्धिको अनुभूतिसँगै नागरिकहरू खुसी र सुखी हुन सक्छन् ।
राज्यको चौथो अंग मानिएको सञ्चार जगत् लगायत नागरिक समाजका अंग र निकायहरूले पनि समाजमा सदीयौंदेखि किनारामा पारिएका समुदायमाथि प्रश्न उठाएर हतोत्साही गर्नुभन्दा शक्तिमा बसेको समुदायको नबदलिएको सोच, बोली र व्यवहार बदल्न सहयोग पुग्ने गरी प्रस्तुत हुन आवश्यक छ । त्यसो गर्न सके नै लोकतन्त्रको संस्थागत विकास र दिगोपनमा सकारात्मक योगदान पुग्नेछ ।

Page 7
दृष्टिकोण

मञ्चीय संस्कारको दिगमिग

पञ्चायती
- आहुति

थु प्रै पटक वाग्मती उपत्यका आसपासमा हिउँ पारेको गतसालको चिसो याम फागुन महिनासम्म पनि ताजै थियो । त्यसमध्ये फागुनको एक साँझ वाग्मती उपत्यकामा क्रियाशील सात वटा नाट्य समूहको आयोजनामा अन्तर्राट्रिय नाटक महोत्सव भएको थियो । काठमाडौं, पोखरा, जनकपुरदेखि झापासम्मका आजका युवा नाट्यकर्मीहरू र तिनको जुझारु मेहनतलाई देख्दा रातमा जाल खेल्न रमाउने जलाहारीको सम्झना नआई छाड्दैन । पञ्चायत व्यवस्था, राजसंस्था र हिन्दू मिथकका पक्षमा जनमत बढाउनु थियो, त्यसैले पञ्चायतकालमा प्रज्ञा प्रतिष्ठान र नाचघरले बनाइरहन्थे नाटकहरू— कहिले ‘मालती मंगले’, कहिले ‘उर्वशी’ । आजको राज्यलाई त नाटकलाई राजनीतिक उद्देश्यका निम्ति उपयोग गर्ने स्तरसम्मको पनि चासो देखिँदैन । कोही चर्चाको साहित्यकार भेटिँदा नाट्यकर्मीहरू भनिरहेका सुनिन्छन्, ‘ल न एउटा नाटक लेख्नुपर्‍यो ।’ विदेशी नाटकको नेपाली रूपान्तरण गरेर नाटक गर्नु आफूहरूको रहर नभएको विषयलाई कुनै स्पष्टीकरण जसरी थपिरहेका हुन्छन् तर आज साहित्यकारहरूले नाटक लेख्न आवश्यक जाँगर चलाइरहेको अवस्था पटक्कै छैन, जतिले लेखेका छन्, त्यो ज्यादै अपर्याप्त रहेको छर्लङ्गै देखिन्छ ।
इतिहासतिर फर्किने हो भने नेपालका धेरैजसो जातिको आफ्नै नाट्य परम्परा थियो । त्यो नृत्य र संगीतमय थियो अर्थात् संगीतमय नृत्यमार्फत् संवाद गर्नु नेपालको रैथाने नाट्य परम्पराको आधारभूत मौलिकता र विशेषता हो । मधेस र भित्री मधेसका मधेसी तथा जनजाति समाजका प्रचुर नृत्यमा आधारित नाट्य परम्परा मात्र होइन, पूर्वको मुन्धुममा आधारित संस्कारगत अनुष्ठानजन्य नृत्यहरूदेखि वाग्मती उपत्यकाको कात्तिक नाच, भेरी नदीपारिको ढालतरबार नृत्य हुँदै कर्णालीपारिको देउडा गायनको सामूहिक नृत्यसम्मलाई नियाल्दा रैथाने नाट्य मौलिकताको बान्की भेट्टाउन मुस्किल पर्दैन । राणाहरूको ब्रिटिस शासनको दलाली र सांस्कृतिक रागात्मकतासँगै नेपालमा भित्रियो बेलायती संवाद प्रधान नाटक शैली । त्यसपछि त ‘नेपालका सेक्सपियर’ जन्मिन थालिहाले । नेपालका रैथाने नाट्य मौलिकता त्यसपछि नृत्य वा नाचमा सीमित हुँदै खुम्चिन थाले भने युरोपेली शैलीका नाट्यहरू चाहिँ नाटकका रूपमा सम्मानित भई नेपालको कला क्षेत्रमा अगाडि आए । रेडियो नेपालको स्थापनापछि खस नेपाली भाषाबाहेकका मौलिक संगीतहरूको ध्वस्तीकरणलाई बुझेर रैथाने संगीत खोज्ने जमर्को सुरु गर्न झुमा लिम्बूहरूलाई सत्तरी वर्ष लाग्यो । उनीहरूले रैथाने संगीतहरूका सग्लो रूप वा तिनका हाडखोर कति भेट्टाउलान् किटान गर्न सकिने अवस्था छैन । पूर्वको हाक्पारे र गायिका डिक्रा वादीलाई कामाडौं ल्याएर पश्चिमको देउडा संगीतको रैथानीयता प्रस्तुत गरेर झकझकाउने रैथाने संगीत अभियन्ताहरूले जस्तै नेपालका रैथाने नाट्य शैलीहरू खोजेर मौलिक नेपाली नाटक शैली पुनर्जीवित गर्ने अभियान कहिले सुरु होला भन्ने प्रश्नको उत्तर अझै समयको गर्भमै छ तर त्यस्तो रैथाने नाट्य अभियान सुरु गर्ने पात्रहरू पनि आजका सक्रिय नाट्यकर्मीहरूको निरन्तरता भए नै त्यसभित्रबाट जन्मिएलान् ।
यस्तै गहिरो आशाबीच आजका युवा नाट्यकर्मीहरूसँग भेट हुँदा भूमिगत विद्रोहीसँग भेटे जस्तै सुखद अनुभूति हुन्छ । विद्रोहीहरू क्रान्तिकारी बन्लान् नबन्लान् यत्तिकै अहिले किटिहाल्न सकिने अवस्था भने छैन । चिन्तनको यही सेरोफेरोको फेर समातेर अन्तर्राष्ट्रिय नाटक महोत्सवको समारोहको निम्तो मान्न तोकिएको अपराह्नको समयमा पुगिएको थियो अनामनगरको मण्डला थियटर । सिंहदरबारको पूर्वी ढोकाको ठीक विपरीत गल्छेंडामा ठूलो चहलपहल थिएन । नेपालका नाट्यकर्मीहरू नै सकसपूर्ण विद्रोही अवस्थामा छन् भने तामझामपूर्ण भव्यता नदेखिनु स्वाभाविकै लाग्थ्यो । उपभोक्तावादी बजारले उपयोग गरी पैसा फलाउने औजार बनाउन रुचि नदेखाएको नाटक विधाको महोत्सव विद्रोही खालकै हुनु ठीक भन्ने आग्रह पनि मनमा जन्मिएकै थियो । मण्डला थियटरसँगैको खाली जमिनमा निर्मित उद्घाटनको मञ्चअगाडि करिब तीन सय मानिस खचाखच भइसकेका थिए । सत्यमोहन जोशी, प्रचण्ड मल्ल, शकुन्तला शर्मा आदि नेपालका नाट्य क्षेत्रका इतिहासदेखि वर्तमानका प्रखर युवासम्म उपस्थित भइसकेका थिए । आयोजकहरू ओहोरदोहोर गरेको गर्‍यै तर कार्यक्रम सुरु हुँदैन । निमन्त्रणा गरिएको समय कटेर डेड घण्टा बितिसक्यो, चिसो पनि बढ्न सुरु भयो, नाटक विधामै इतिहास बुनेका उनान्सय वर्षसम्मका पाका व्यक्तित्वहरू कुरिरहेका छन् तर कार्यक्रम सुरु हुँदैन । आखिर किन कार्यक्रम तोकिएको समयमै सुरु भएको थिएन ? किनभने आयोजक युवा नाट्यकर्मीहरूलाई पनि परम्परागत नेपाली राजनीति र समाजमा राइँदाइँ गर्दै आएको मञ्चीय संस्कारले गुटुमुटु पारेर बाँधेको थियो । प्रधानमन्त्री प्रमुख अतिथि, शिक्षामन्त्री विशेष अतिथि अनि अन्य अतिथिहरूको विलम्बले सिंगै समारोह ढिला भएको थियो । निम्तो गरिएको ठीक समयमा उपस्थितहरूले अनावश्यक पट्यार बेहोरेपछि सुरु भएको कार्यक्रममा आयोजकले उनान्सय वर्षसम्म पुगेका नाट्यकर्मीहरूका निम्ति जसरी साधारण औपचारिक व्यवहार थोपरेका थिए, त्यसरी नै सत्ताधारी अतिथिहरूका निम्ति विशिष्ट खातिरदारी पस्केका थिए । नेपाली समाजमा मञ्चीय संस्कारको अनावश्यक तिक्तताबाट धेरैले प्रताडना महसुस गरेको अवस्थामा यस्तो प्रवृत्तिको संवाहक नाट्यकर्मीहरू भएकाले यो सन्दर्भ उल्लेख गरिएको होइन । असाधारण कल्पनाशीलताद्वारा सयौं वर्षअघिका कथालाई समेत वर्तमानका गलत सन्दर्भविरुद्ध उभ्याउन सिर्जनशीलता बुन्ने नाट्यकर्मीहरूसमेत यसरी परम्परागत मञ्चीय संस्कारको धरापमा कुँजिन पुग्ने अवस्था नेपाली समाजमा रोगका रूपमा जीवित छ भने अन्य क्षेत्रमा कस्तो अवस्था होला भनी अनुमान लगाउन सजिलो होस् भन्न उक्त सन्दर्भ उल्लेख गर्नु जरुरी भएको हो ।
मानवीय जीवनका व्यक्तिगत हुन् या सामाजिक राजनीतिक क्षेत्रका संस्कारहरू तत्कालीन समयका आवश्यकता, ज्ञानको सीमा र समस्या व्यवस्थापनको खाँचोबीच जन्मिएका हुन्छन्, आजको समयमा ती रूढिवादी ऊर्जाहीन भइसकेका हुन सक्छन् वा कम्तीमा परिमार्जन त अनिवार्य भइसकेका हुन्छन् नै तर ती जस्ताको तस्तै जारी राख्ने परम्परागत प्रवृत्तिले राजनीतिक तथा सामाजिक क्षेत्रका कार्यक्रमहरू आजको आवश्यकता र नयाँ पुस्ताको प्रगतिका निम्ति बाधक साबित भइरहेका छन् । त्यस्ता मञ्चीय गलत संस्कारहरूले नयाँ पुस्तामा अनावश्यक तिक्तता सिर्जना गरी आवश्यक विषयतिर ध्यान खिच्ने विषयमा समेत वितृष्णा उत्पादन भइरहेको देखिन्छ । राजनीतिक वा सामाजिक विविध क्षेत्रका कार्यक्रमहरूका मञ्चहरूमा गरिने संस्कारहरू किन त्यसरी गरिएको र त्यसले स्वयं त्यस कार्यक्रम वा सहभागीलाई कति फाइदा हुन्छ भन्ने कोणबाट भन्दा ‘हिजैदेखि यस्तै गर्दै आएको गर्नैपर्‍यो’ भन्ने रूढिवादी कर्मकाण्डी स्तरमा गिर्न पुगेको बढी पाइन्छ । मञ्चीय संस्कारहरूमा सबैभन्दा बढी उपयोगितावाद र सामन्तवादी उँचनीचको हदैसम्मको विकृति राजनीतिक पार्टीका मञ्चहरूमा प्रकट भइरहेका छन् । राजनीति र पार्टीहरूले समाजको आधारभूत भविष्य यात्रालाई दिशा र गति दिने हुनाले उनीहरूका मञ्चीय संस्कार अवैज्ञानिक हुनु सिंगै समाजका निम्ति दुःखद विडम्बना हो । मञ्चीय संस्कारमा दिगमिग लाग्ने केही सन्दर्भहरूबारे चर्चा गरौं ।
एक, आफ्नै पार्टीको तल्लो समितिको बैठक वा आयोजनाको कार्यक्रममा माथिल्लो समितिको नेता अतिथि बनेर पुग्छ । हैन, आफ्नै घरमा कोही कसरी पाहुना हुन्छ र ? सिंगै पार्टी नेतृत्व गर्ने केन्द्रीय नेता प्रदेश समितिको बैठकमा गएर अतिथि मात्र हुनु भनेको सांगठनिक हैसियतसमेतको परिभाषा गज्याङमज्याङ हुनु होइन र ?
दुई, एउटा कार्यक्रममा एक जना प्रमुख अतिथि, अर्को विशेष अतिथि, अर्को अतिथि र बाँकी सहभागी घोषणा गरिन्छ अर्थात् वर्णव्यवस्थाको तहगत संरचनाजस्तो एउटै कार्यक्रमका सहभागीको चार तह । छातीमा टाँस्ने ब्याच फरक, बस्ने कुर्ची फरक, स्वागत गर्दा माला वा खादा फरक इत्यादि । एउटै कार्यक्रममा यति धेरै उँचनीचको स्थानमानले राजनीति वा समाजलाई समानता र समतातिर दिशानिर्देश कदापि गर्दैन ।
तीन, कार्यक्रममा पार्टीभित्रका गुटगत भाग पुर्‍याउन उद्घोषक, सभापति, स्वागत भाषण, वक्ताहरू र अन्तिममा धन्यवाद ज्ञापनका निम्ति दर्जनौं पात्रहरू खडा गरेर न त कार्यक्रम चुस्त हुन्छ, न त सहभागीहरू लाभान्वित हुन्छन् । जसलाई चित्त बुझाउन यस्तो भागबन्डा गरिन्छ, तिनले समाजमा गर्दै जाने भागबन्डा कस्ता हुँदै जालान् ?
चार, नेताहरू वा अतिथिलाई मञ्चमा आसनग्रहण किन गराउनुपर्ने हो ? यसबारे न प्रश्न, न उत्तर कतै छ । आसनग्रहण त्यस सामन्तवादी युगको संस्कार थियो, जहाँ जन्म, जात वा पदका आधारमा आसन निश्चित हुन्थ्यो । आज त राजनीतिक वा सामाजिक समारोहमा व्यक्ति
आफ्नो दायित्व पूरा गर्न उपस्थित हुने हो । दायित्व पूरा गर्न कार्यकर्ता वा नेता सबै उपस्थित हुने हो, तब आसन ग्रहणको अतिरिक्त मर्यादा किन ? जो दायित्व पूरा गर्न उपस्थित हुन्छ, उसले त आफ्नो उपस्थिति सभालाई जानकारी गराउनु पो पर्ने हो ।
पाँच, जसको मञ्चमा कुनै काम छैन, उनीहरूलाई मञ्चभरि किन बसाउनुपर्ने हो ? कतिपय कार्यक्रम यस्ता हुन्छन् कि कार्यक्रम सकिने बेलासम्म मञ्चमा आसनग्रहणका निम्ति उद्घोषकले बोलाइरहेको हुन्छ । यस्तोसम्म हुन पुग्छ कि सहभागीभन्दा बढी संख्या मञ्चमा विराजमान हुँदा पनि मञ्चमा आसनग्रहणको अत्याचार अन्त्य भइजाँदैन । योभन्दा निष्कृष्ट मञ्चीय संस्कारको दृश्य देख्न गाह्रो छ ।
छ, एउटै कार्यक्रमका अतिथिलाई फरक फरक माला, फरक फरक खादा किन ? हुँदा हुँदा त एउटै दुर्घटनामा मारिएकाहरूको श्रद्धाञ्जली कार्यक्रममा मृतकको पदीय हैसियतअनुसार फोटाहरू पनि सानाठूला राख्ने संस्कार सुरु भइसक्यो । हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको श्रद्धाञ्जली कार्यक्रममा मन्त्री रविन्द्र अधिकारीको तस्बिर ठूलो र अरू मृतकको सानो तस्बिर राखिनुले गम्भीर टिठलाग्दो स्थानमानलाई व्यक्त गरेको थियो ।
सात, आफू र आफ्नो पार्टीलाई भौतिकवादी बताउनेहरू नै सहिद वा मृतकलाई श्रद्धाञ्जली दिइरहेका छन् । फोटामा अबिर, माला र खादा खापिरहेका छन् तर मृतकले पाउँदै नपाउने श्रद्धाञ्जली हामी किन दिइरहेछौं ? मूर्ति पूजाको धार्मिकीलाई फोटो पूजामा किन पुनर्जीवित गर्दै छौं जस्ता आधारभूत प्रश्न गायब छन् ।
समग्रमा के प्रस्ट हुन्छ भने राजनीतिक वा सामाजिक कार्यक्रमहरूका मञ्चीय संस्कारहरूले आजको समय र पुस्ताको आवश्यकतालाई सम्बोधन नगरिरहेको मात्र होइन, बरु तिनले घातक भूमिका खेल्न थालिसकेका छन् । यस्ता हेर्दा र भोग्नै पर्दा दिगमिग लाग्ने सयौं मञ्चीय संस्कार आज पनि व्यवहारमा जारी छन् । तसर्थ, नयाँ पुस्ता र नयाँ युगको नयाँ राजनीतिले सामाजिक जीवनका संस्कारलाई जस्तै मञ्चीय संस्कारलाई पनि वैज्ञानिक र समतामूलक बनाउन चिन्तन र व्यवहार सुरु गर्नैपर्छ ।

दृष्टिकोण

निजगढको विकल्प भट्टेडाँडा

- नवराज खतिवडा,शाश्वत ढुंगाना,सम्पदा ढुंगाना

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (निअवि) निर्माणका लागि रूख कटान गर्ने योजना यथास्थितिमा राख्न सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशसँगै कतिपयले यो विराट् यातायात पूर्वाधारको निर्माणमा ग्रहण लागेको अनुभूति गरेका छन् । यसैले यो विमानस्थल बन्ने या नबन्नेमा फेरि एक पटक आम जनताका मनमस्तिष्कमा शंकाका बादलहरू मडारिएका छन् । यसरी २५ वर्षअघिदेखि थालिएको र अहिलेसम्म शिलान्यासै हुन नसकेको परियोजनालाई सर्वोच्च न्यायालयले समेत प्रश्नको घेरामा राख्न सक्ने परिस्थिति सिर्जना भएबाट केही महत्त्वपूर्ण सवाल पुनः सतहमा आएका छन् ।
तीमध्ये पहिलो हो– के निअविले यात्रुहरूलाई अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) ले दिएकै तहमा सेवा दिन सक्छ ? अर्थात्, के यो दोस्रो विमानस्थल पहिलोको पूर्ण विकल्प हुन सक्छ ? निजगढलाई चयन गर्नुका पछि दुई कारण मुख्य छन् भनी प्रस्तावक निकायहरूले बहस–पैरवी गर्दै आएका छन् । ती कारणमा छन्– साबिकको त्रिअविले यात्रुचाप थेग्न नसक्ने र काठमाडौं–तराई द्रुतमार्गको निर्माणपछि राजधानी र तराई दुवैलाई यसले सहज सेवा दिने तर स्मरणीय छ, काठमाडौंको केन्द्रबाट प्रस्तावित निअविको निर्माणस्थलको दूरी करिब ९० किमि छ । द्रुतमार्गको डिजाइनमा सवारी साधनको अधिकतम गति पहाडी भूभागमा ६५ किमि प्रतिघण्टा र समथरमा १२० किमि प्रतिघण्टा हुने अनुमान भएकाले काठमाडौंको केन्द्र भागबाट निअविसम्मको यात्रा समय डेढदेखि दुई घण्टासम्मको हुनेछ । अहिले काठमाडौं उपत्यकाकै विभिन्न स्थानबाट द्रुतमार्गको आरम्भविन्दु खोकनासम्म जान द्रुत गतिमा सवारी साधन चल्ने सडक निर्माणको योजना नभएकाले साबिककै सडक प्रयोग गर्नुपर्ने हुन्छ । यसो हुँदा भारदेउ, सिपाडोल, लप्सीफेदी वा बुढानीलकण्ठजस्ता उपत्यकाभित्रकै स्थानबाट निअवि पुग्न तीन चार घण्टा लाग्ने हुन्छ । यसको अर्थ, दूरदराजका उपत्यकावासीले समेत बिहानको उडान समात्न निजगढमै बास बस्ने गरी जानुपर्ने हुन्छ । यो कुरालाई मध्यनजर गरी पछिल्लो समय निर्माण गरिएका अन्य मुलुकका विमानस्थललाई सकेसम्म सहरबाट नजिकै राखिएको पाइन्छ । सामान्यतः सहरको जुनसुकै कुनाबाट पनि ‌औसत एक घण्टामा विमानस्थल पुग्न सकिने हिसाबले पूर्वाधार निर्माण गरिएको पाइएको छ । विमानस्थल जान निजी सवारी साधन, ठूला सवारी साधन र मेट्रो रेलको समेत सहज पहुँच हुने सोच राखिएको हुन्छ । महानगरको केन्द्रबाट १४ किमि पर रहेको भारतको इन्दिरा गान्धी (नयाँदिल्ली), ४७ किमि परको थाइल्यान्डको सुवर्णभूमि (बैंकक) र ५८ किमि परको हालसालै निर्माण सम्पन्न भएको चीनको
बेइजिङ–ड्याकसिङ (बेइजिङ) विमानस्थलहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । यसरी परिकल्पना गरिएको हाम्रो दोस्रो विमानस्थल पहुँचका हिसाबमा त्रिअविको सिधा र सपाट विकल्प नहुने स्पष्ट देखिन्छ ।
निअविको निर्माण भए पनि आश्वासन धेरै बाँडेको बनेपा–सिन्धुली राजमार्ग ठूला सवारी साधनका लागि विकल्प नभएको जस्तो कालान्तरमा त्रिअविको भरपर्दो विकल्पका रूपमा राजधानीबाट तुलनात्मक रूपमा नजिकै अर्को विमानस्थल निर्माण गर्नुपर्ने हुन्छ । बैंककमा डोनमुआङको विकल्पका रूपमा निर्माण गरिएको सुवर्णभूमि र चीनको राजधानीमा हालसालै सञ्चालनमा आएको नयाँ विमानस्थल यसका ज्वलन्त उदाहरण हुन् । जापानमा पनि बृहत्तर टोकियोभित्रै हानेदा र नारिता विमानस्थल छन् ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानद्वारा प्रारम्भिक अध्ययन गरिएको एउटा वैकल्पिक प्रस्तावमा ललितपुरको भट्टेडाँडामा महाभारत पहाड सम्याएर विमानस्थल निर्माण गर्न सकिनेतर्फ औंल्याइएको छ । काठमाडौं उपत्यकावरिपरि रहेका लगभग ३,००० मिटर अग्ला महाभारत पहाडका कारण त्रिअविको गणना विश्वका कठिन अन्तर्राष्ट्रिय विमानस्थलहरूका रूपमा हुन्छ । यसकारण हाल राडारको टावर रहेको भट्टेडाँडाको ६ किलोमिटर पहाड सम्याउँदा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पर्याप्त समथर जमिन उपलब्ध हुने प्रस्तावमा उल्लेख छ । यो क्षेत्रको पश्चिम र दक्षिणमा वाग्मती नदी र भट्टेडाँडाको प्रशासनिक इकाइ वाग्मती गाउँपालिका भएका कारण प्रतिष्ठानले यस विमानस्थलको नामकरण ‘वाग्मती अन्तर्राष्ट्रिय विमानस्थल (वाअवि)’ उपयुक्त हुने समेत ठानेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार सन् २०१८ मा नेपालमा ३३,९३३ वटा अन्तर्राष्ट्रिय उडान भएका थिए । यो हिसाबले औसत एक घण्टामा दुई जहाजले उडान भरेका थिए । वाअविको क्षमता एक घण्टामा छ वटा उडान भर्ने हुनेछ । यसको अर्थ हाल त्रिअविले प्रतिदिन सालाखाला १०,००० यात्रुलाई सुविधा दिएको छ तर पछिल्लो समय जहाज घण्टौं होल्डमा राखिने वा उडान समय फेरबदल हुने समस्याले त्रिअवि आक्रान्त छ । वाअविको क्षमता त्रिअविको भन्दा साढे दुई गुणाले बढी हुने भएकाले यसले प्रतिदिन २५,००० यात्रुलाई सुविधा दिन सक्नेछ । यो विमानस्थल काठमाडौंको रत्नपार्कबाट २५ किमि र पूर्वपश्चिम राजमार्गबाट ५०–६० किमि दूरीमा हुनेछ ।
हवाई, सडक र रेलजस्ता यातायात पूर्वाधारको रेखांकन गर्दा विचार गर्नुपर्ने पक्ष हो– यसले भविष्यमा सिर्जना गर्ने करिडोर सहर सञ्जाल । पूर्व–पश्चिम राजमार्ग रेखांकन हुनुअघि नामोनिसान नभएका बिर्तामोड, इटहरी, हेटौंडा, बुटवल, कोहलपुर र अत्तरिया अहिले प्रमुख व्यापारिक र बसोबास केन्द्र बनेका छन्  । विराटनगर–धरान, पथलैया–वीरगन्ज, बुटवल–भैरहवा र नेपालगन्ज–कोहलपुर खण्डमा दुवैतिर एकअर्कासँग जोडिएका सहर विकास भएका छन् तर सबैभन्दा अघि बनेको त्रिभुवन राजपथको नौबिसेबाट टिस्टुङ, पालुङ हुँदै हेटौंडासम्म पुग्दा पनि यस्ता करिडोर सहर बन्न सकेका छैनन् ।
तर नौबिसे छोएर काठमाडौं जाने पृथ्वीराजमार्ग र बनेपा–धुलिखेल–पाँचखाल हुँदै जाने अरनिको राजमार्गमा ८० किलोमिटर लामो सहर सिर्जना भएको छ । यो करिडोरमा चन्द्रागिरि, कीर्तिपुर, काठमाडौं, ललितपुर, मध्यपुर ठिमी, भक्तपुर, सूर्यविनायक, बनेपा, धुलिखेल र पाँचखाल गरी दस वटा नगरक्षेत्र स्थापित भएका छन् ।
त्रिभुवन राजपथको रेखांकन हुँदा या भविष्यमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना हुँदा सहर करिडोर सिर्जना हुने गरी समथर भूभागबाट राजमार्ग निर्माण भएको भए नौबिसे–पाँचखालजस्तै काठमाडौं–तराई करिडोर सहर सिर्जना हुने थियो । त्यसो भएको भए राजनीतिक हिसाबमा टाउको दुखाइरहने तराई र काठमाडौंबीचको मनोमालिन्य र भावनात्मक खाडलसमेत नहुने वा कम हुने थियो ।
वाअवि रहेको स्थानको दक्षिणमा वाग्मतीको किनारमा रहेको सानो उपत्यका माल्टाको उचाइ ९०० मिटर मात्र छ । यसको अर्थ काठमाडौं उपत्यकाकै अंश ललितपुरको टीकाभैरव (१,५०० मिटर) र माल्टाका बीचमा तगारोका रूपमा लगभग १० किलोमिटर लामो भट्टेडाँडो (२,३०० मिटर) छ । वाग्मती नदीका किनारामा रहेको समथर भूभागमा सडक सञ्जाल र स्मार्ट सहरहरूको विकास गर्दा काठमाडौं–वाअवि–माल्टा–कर्मैया एक सहर करिडोरका रूपमा समेत विकास हुन सक्ने सम्भावनालाई प्रतिष्ठानले ठम्याएको छ किनभने माल्टाभन्दा तल्लो भूभागमा वाग्मती नदीका दुवै किनारमा सहर बसाउन योग्य समथर जमिन प्रचुर मात्रामा छ ।
अहिले अन्तर्राष्ट्रिय बजारमा ढुंगा, गिट्टी र बालुवाको मूल्य प्रतिटन १,००० रुपैयाँ छ । भट्टेडाँडाको ६ किमि पहाडलाई २,००० मिटरको उचाइमा सम्याए त्यो उत्खनन गरिएको निर्माण सामग्रीको मूल्य ६ खर्ब बराबरको हुने देखिन्छ । सम्याउने काम गर्न लगभग १ खर्ब लागत लाग्नेछ र विमानस्थल निर्माण गर्न २ खर्बको । यसरी प्रतिष्ठानको प्रारम्भिक अनुमानअनुसार यो वाअविको निर्माण कार्यले ३ खर्बको राजस्व प्राप्त हुनेछ । यो परियोजना निर्माण गर्दा अहिलेको बेरोजगारी र विदेश पलायनको समस्या केही हदसम्म समाधान हुने पनि देखिन्छ । स्मरण रहोस्, नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलको दैनिक आय लगभग ३ करोड नेपाली रुपैयाँ बराबर छ । यसैको हाराहारी हिसाब गर्दा र पाँच वर्षको निर्माण अवधि राख्दा विगत २० वर्षमा हामीले निअविको निर्माण नगरेर लगभग ३ खर्बको राष्ट्रिय आम्दानी गुमाएका छौं ।
बहसको दोस्रो महत्त्वपूर्ण विषय निर्माण कार्यान्वयन गर्ने सरकारी निकायको रवैयासम्बद्ध छ । यो लेख तयार पार्दासम्म २ खर्ब लागतको विराट् पूर्वाधार निर्माण गर्ने सरकारी निकायको नामसम्म किटान नहुनु र संस्कृति, पर्यटन तथ नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा निअविसम्बन्धी कुनै सूचना नहुनुले हामी यसबारे कति गम्भीर छौं भन्ने तथ्य उजागर गर्छ । हाम्रा लागि सम्भवतः २ खर्ब लागतको परियोजनाको अहिलेसम्मकै विराट् कार्य हो तर यस्ता परियोजना निर्माण गर्ने ताल्लुक निकायको नाम संस्कृति र पर्यटन जोडिनु अर्को दुर्भाग्य हो । यस्तै, नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमा परियोजनाहरूको सूचीमा ‘सेकेन्ड इन्टरनेसनल’ शीर्षकमा एउटा श्वेतपत्र राखेर आफूसँग बृहत्तर परियोजना निर्माणको अनुभव नभएको दृष्टान्त पेस गरेको छ । यसरी पूर्वतयारीको यो दुरवस्थालाई पनि यो ग्रहण लागेको अवसरमा सम्माननीय अदालतले केही स्वस्तिशान्ति अवश्य नै गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।
विकास–निर्माणका लागि रूख काट्ने होइन कि कहाँको रूख किन काट्ने भन्ने विषय महत्त्वपूर्ण हो । निअविको वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको हुनाले रूखबिरुवा हटाएर त्यसको क्षतिपूर्ति गर्ने निराकरणका उपाय अवश्य उल्लेख भएका होलान् तर विमानस्थल कार्यान्वयन गर्ने निकायले सार्वजनिक महत्त्वका यस्ता विषयको उल्लेख भएको ईआईए प्रतिवेदन सर्वसाधारणको पहुँचमा नराखेको हुनाले अनेक तर्क–वितर्क हुनु अस्वाभाविक होइन । त्रिअविमा समेत चरा ठोक्किएका घटना देखेसुनेका सर्वसाधारणले पर्सा राष्ट्रिय निकुञ्जसँगै जोडिएको वनमा निर्माण हुने विमानस्थलको चरा आतंक वा जंगली जनावरको आक्रमणबाट कसरी सुरक्षित हुने भन्नेबारे ध्यान केन्द्रित गर्नु बेठीक होइन ।
तर अदालतको आदेशसँग जोडिएको सिरानको विषयवस्तु झन् गहन छ । नेपालमा हाल ५० प्रतिशतजति जमिनमा या त वनजंगल छ या संरक्षण गरिएको क्षेत्र । यसका कारण अहिले बाँदर, चितुवा र मृगजस्ता जंगली जनावरको संख्या ह्वात्तै बढेको छ । बाँदर आतंकले किसानहरू बसाइँ सर्न बाध्य भएका छन् वा बाँदर आतंक मत्थर पार्न सक्ने प्रतिबद्धता भएका उम्मेदवारलाई मत हाल्ने चलन आइसकेको छ । बसाइँसराइ र सहरीकरणका कारण अर्कातिर दूध दिने गाई–भैँसी मासिएका छन् । आरक्षित क्षेत्रको विकास, सामुदायिक वनको फैलावट र गाउँघरबाट सहरमा भएको बसाइँसराइका कारण यो अवस्था आएको हो । संरक्षणको बहस–पैरवी गर्ने स्वार्थकेन्द्रहरूको तर्क हास्यास्पद रहेको भनाइ चीन र कोरियाको जस्तो आफ्नै जीवनकालमा द्रुत आर्थिक विकास भएको देख्न चाहने विकासवादीहरूले राख्दै आएका छन् । ‘बरु हिँडेरै जाने’ वा ‘गाई–भैँसीको सट्टा बाँदर वा मृगको दूध उत्पादन गर्ने प्रविधिको विकास गर्ने’ तर ‘जंगलको रूख काट्न नदिने’ जस्ता बेतुकका तर्क संरक्षणवादीले राखेका हुन्छन् भनी उनीहरूको कटु आलोचनासमेत गर्ने गरिएको छ । ५० वर्षयता अन्य मुलुकका तुलनामा नेपालमा दाता राष्ट्र र विकास साझेदारी संस्थाहरू विकास–निर्माणका मूलधारका भन्दा किनाराका यस्ता मुद्दालाई अघि सारेर सरकारी निकाय, विकासकर्मी र अनुसन्धानकर्ताको कित्तामा आफ्नो हालीमुहाली गर्न सफल भएका छन् । अदालतमा हुने बहसमा पनि विकासवादीभन्दा संरक्षणवादी नै हावी भयो भने सम्भवतः खण्डग्रास ग्रहण बढेर खग्रास हुने र त्यो दीर्घायुको हुन सक्ने जोखिम छ । यसकारण यी विषयमा सम्पूर्ण सरोकारवाला र नागरिक समाजको समेत ध्यानाकर्षण हुन जरुरी छ ।
लेखकत्रय नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा आबद्ध छन् ।

Page 8
विदेश

अस्ट्रेलियामा कानुनी समस्या झेल्दै नेपाली

विभिन्न अपराधमा संलग्न करिब सयजना नेपाली हाल अस्ट्रेलियाका डिटेन्सन सेन्टर र ३५ भन्दा बढी जेलमा छन्
- नारायण खड्का
अस्ट्रेलियाको भिक्टोरियास्थित बार्वन कारागार

(अस्ट्रेलिया) - अस्ट्रेलियाको सिड्नीस्थित एउटै घरमा कोठा सेयर गरेर बस्ने दुई जोडीबीच झगडा पर्‍यो । झगडा कुटाकुटसम्म पुगेपछि उनीहरू प्रहरीसम्म पुग्नुपर्‍यो । स्थानीय एक वकिलको सहायतामा अहिले उनीहरू जमानतामा रिहा भएका छन् । केही समयअघि सिड्नीमै रातको समयमा एकआपसमा झगडा गरेर कुटाकुट गर्दा नेपाली विद्यार्थी जेलमा पुग्न बाध्य भए ।
यसैगरी, विदेशमा रहेकी आफ्नी प्रेमिकाको अन्तरंग फोटो सार्वजनिक गरिदिने धम्की दिएका एक नेपाली विद्यार्थीसमेत जेलसम्म पुग्न बाध्य भए ।
पछिल्लो समय नेपालीको जनसंख्या बढेसँगै अस्ट्रेलियामा विभिन्न कारणले कानुनी समस्यामा फस्ने नेपालीको उदाहरण मात्रै हुन् यी घटनाहरू । आधिकारिक तथ्यांक नभए पनि कानुनी राज्यमा अत्यन्तै कडा रूपमा स्थापित अस्ट्रेलियाका विभिन्न जेलमा अहिले पनि करिब ३ दर्जन नेपाली विभिन्न अपराधमा रहेको यस क्षेत्रमा काम गरिरहेका वकिलको भनाइ छ । विशेषतः घरेलु हिंसा, शारीरिक शोषण, यौन हिंसा, आपसी झगडालगायत मुद्दामा नेपालीहरू कानुनी समस्यामा पर्ने गरेका छन् । सिड्नीमा रहेर ‘क्रिमिनल ल’ विशेषता हासिल गरेका वकिल खिलेन्द्रराज तिम्सिनाका अनुसार श्रीमती कुट्नेदेखि यौनहिंसासम्मका घटनामा नेपाली जेलमा बस्न बाध्य छन् ।
नेपाली कानुन व्यवसायीहरूका अनुसार अहिले सबैभन्दा धेरै नेपाली अस्ट्रेलियास्थित अध्यागमन विभागको ‘डिटेन्सन सेन्टर’ मा रहेका छन् । भिसा नभएको, विभिन्न कारणले भिसाको सर्त पूरा नगरेको, नक्कली विवाहको शंकामा छानबिनमा परेको लगायतका विभिन्न भिसासम्बन्धी उल्झनमा परेकालाई विभागले यस्तो सेन्टरमा राख्ने गरेको छ । यथार्थ तथ्यांक उपलब्ध नभए पनि १ सय बढी नेपाली यहाँका विभिन्न डिटेन्सन सेन्टरमा रहेको उनीहरूको भनाइ छ । ‘नेपालीको संख्या बढेसँगै यस्ता घटनासमेत बढेका हुन ।’ यस्ता सेन्टरमा रहेका करिब ३० जना नेपालीलाई कानुनी सहायता पुर्‍याइरहेका तिम्सिना बताउँछन् । सिड्नीमै रहेर नेपालीलाई कानुनी सहयोग पुर्‍याइरहेका अर्का वकिल भरत पोखरेल सबैभन्दा ठूलो समस्या नै लापरबाही र हेलचेक्र्याइँ भएको सुनाउँछन् । ‘मुख्य कुरा अस्ट्रेलिया आइसकेपछि के गर्न हुन्छ, के गर्न हुँदैन भन्नेबारे बुझ्न र बुझे पनि व्यवहारमा ल्याउन
नसकेकाले नै समस्या बढिरहेको हो ।’
पोखरेलका अनुसार नेपालीहरू दोहोर्‍याएर घरेलु हिंसा गरेका, यौनशोषणको आरोप लागेका, आपसी झगडा, लागूऔषध लगायतका मुद्दामा कानुनी समस्यामा फसेका छन् । अहिले पनि विभिन्न मुद्दामा जेलमा रहेका करिब १० जना नेपालीलाई कानुनी सहायता पुर्‍याइरहेको बताउने उनी नेपालीलाई जनचेतनाका साथै नेपाल र अस्ट्रेलियाको कानुनी प्रक्रियाका बारे बुझाउन आवश्यक भइसकेको धारणा राख्छन् । ‘नेपालको कानुनी प्रक्रिया र जुन संस्कारबाट आइएको छ त्यो संस्कार र प्रक्रियाभन्दा अस्ट्रेलियामा फरक हुन्छ भनेर बुझाउन आवश्यक भइसकेको छ,’ पोखरेल कान्तिपुरसँग भन्छन् ।
नेपालीहरू पछिल्लो समयमा विभिन्न कानुनी समस्यामा पर्ने क्रम बढिरहेको प्रति क्यानबेरामा रहेको दूतावाससमेत जानकार भए पनि आधिकारिक तथ्यांक संकलन र सहयोग पुर्‍याउन सकेको छैन । दूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटा आफूहरूको तथ्यांकमा करिब ७ जना नेपाली जेलमा रहेको बताउँछिन् । ‘हामीले विभिन्न माध्यमबाट जानकारी संकलन गर्ने कोसिस गरिरहेका छौं तर यथार्थ आउन सकेको छैन ।’
अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल पछिल्लो समय यस्ता घटना बढिरहेको भए पनि आफूहरूले प्रत्यक्षरूपमा केही गर्न नसक्ने सुनाउँछन् । ‘हामीले अस्ट्रेलियाको कानुनी प्रक्रियाको उच्च सम्मान गर्नुपर्छ र केही घटना भए यहाँको नियमअनुसार नै हुन दिनुपर्छ ।’ दाहालको भनाइ छ । उनी घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विभिन्न सरोकारवालासँग दूतावासले
छलफल गरिरहेको सुनाउँछन् ।
अस्ट्रेलियाका बारे धेरै अध्ययन गरेर नआउने र आइसकेपछि यहाँको कानुनलाई नेपालको कानुनजस्तै ठान्ने प्रवृत्ति नै कारक भएको सामाजिक संस्थाका प्रतिनिधिहरूको ठम्याइ छ । प्रवासी नेपालीहरूको संगठन एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल यहाँ आउने नेपाली विशेषतः विद्यार्थीहरूले अस्ट्रेलिया र नेपालको संस्कार र कानुनी फरकपनका बारे बुझ्न आवश्यक भएको बताउँछन् । ‘यो समस्या नेपाली समाजमा गम्भीर रूपमा आइरहेको छ र यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर हामीले दूतावास, वाणिज्य दूतावास तथा अन्य संघसंस्थासँग मिलेर जनचेतनामूलक कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं,’ कँडेलले भने ।

 

विदेश

‘महत्त्वपूर्ण परीक्षण’ गरेको किमको दाबी

- एजेन्सी

सोल – उत्तर कोरियाले आफ्नो भू–उपग्रह प्रक्षेपण स्थलमा ‘अति महत्त्वपूर्ण परीक्षण’ गरेको बताएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएले उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै ‘देशको रणनीतिक अवस्थितिलाई थप मजबुद बनाउन पछिल्लो परिणाम प्रयोगमा आउने’ जनाएको छ । सोहाए भू–उपग्रह लन्चिङ ग्राउन्डमा शुक्रबार गरिएको पछिल्लो परीक्षणबारे विस्तृत विवरण भने दिइएको छैन । यो एक सातामा उत्तर कोरियाले गरेको दोस्रो परीक्षण हो । विश्लेषकहरूका अनुसार उत्तर कोरियाको पछिल्ला परीक्षणहरू जमिनमा आधारित भू–उपग्रह प्रक्षेपणलाई बल पुर्‍याउने इन्जिन वा अन्तरमहादेशीय बलिस्टिक
क्षेप्यास्त्र परीक्षण हुन सक्ने जनाएका छन् ।
उत्तर कोरियाले अमेरिकासँग वार्ता बन्द गरेको अनुमान गरिएका बेला पछिल्लो परीक्षण गरेको हो । ‘हामीलाई हाल अमेरिकासँग लम्बेतान वार्ता गर्न आवश्यक छैन र परमाणु निःशस्त्रीकरणको मुद्दा सहमतिको टेबलबाट बाहिरिइसकेको छ,’ संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली दूत किम सङले गतसाताको परीक्षणपछि विज्ञप्तिमा उल्लेख गरेका थिए । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको भ्रमण गर्दै छन् ।

कला र शैली

राजनीति, कला र खेल

- दीपक परियार
नेपाल साहित्य महोत्सवको दोस्रो दिनका विभिन्न सेसनमा डा. सन्दुक रुइत र सञ्चारकर्मी रवि लामिछाने (माथि बायाँ), विश्लेषक यादव देवकोटा, पत्रकार सुधीर शर्मा र नेता गगन थापा (माथि दायाँ) र सञ्चारकर्मी सविना कार्की, नेतृ शान्ता चौधरी र अभिनेतृ करिश्मा मानन्धर ।तस्बिर ः दीपक परियार/कान्तिपुर

(पोखरा) - 'सन्दुकलाई राजनीतिको डर' मोतियाबिन्दुका १ लाख २५ हजार बिरामीको सस्तो मूल्यमा शल्यक्रिया गरेर ख्याति कमाएका तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई सञ्चारकर्मी रवि लामिछानेले सोधे, ‘व्यक्ति मात्र सही भएर हुँदो रहेछ कि व्यवस्थापकीय क्षमताको पनि केही भूमिका छ ?’ चस्मा मिलाउँदै डा.रुइतले भने, ‘प्रतिबद्धता र इमानदारी ठूलो कुरा हो । राम्रो मान्छेलाई
छानेर टिम बनाउन सक्ने खुबी हुनुपर्छ । त्यो टिमसँग बसेर निर्णय लिने क्षमता हुनुपर्छ । नेपालको सन्दर्भमा हाम्रोजस्तो संस्था राजनीतिबाट टाढा बस्नुपर्छ ।’
लामिछानेले डा.रुइत र तिलगंगाको सफलताका पाटा/पक्ष खोतले । ‘हामीलाई हाम्रो उपलब्धिबारे कसैले सोध्छ भने हामी भन्न सक्छौं, हामीले तिलगंगालाई राजनीतिबाट धेरै टाढा अहिलेसम्म राख्न सक्यौं । सक्दो रहेछौं । म एक्लैले यो काम गरेको होइन । मेरा असाध्यै राम्रा प्रतिबद्ध टिमका सदस्यहरू छन्,’ डा.रुइतले भने, ‘धन्य, मैले यो सबै कुरा तिलगंगामा पाएको छु । त्यसैले दुई तीन दशकमा केही गरेर देखाउने मौका पाएका छौं ।’
नेपालमा भारतका उत्तरपूर्वी राज्य, भुटान, पाकिस्तान, बंगलादेशबाट समेत आँखाका बिरामी तिलगंगा आउने गरेको उनले सुनाए । शुल्क सस्तो पर्ने भएकाले पनि ती ठाउँका बिरामी नेपालमा आउने गरेको उनले उल्लेख गरे । ‘यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष नेतृत्व, व्यवस्थापन र गुणस्तरको सुनिश्चितता हो,’ उनले भने, ‘हे भगवान् राजनीति नपसोस् । हामी गर्न सक्छौं ।’
छलफलमा यसमा उनीहरूले नेपालमा अन्धोपनको समस्या मात्र केलाएनन्, त्यसमा भइरहेका पहलबारे पनि छलफल गरे । डा. रुइतले पुर्‍याएको योगदानबारे पनि प्रस्तोता लामिछानेले केही सन्दर्भ उजिल्याए । रुइतले आफूले नेपालमा नेत्र चिकित्साको क्षेत्रमा गरेका र गर्न खोजेका विषयबारे आफ्ना धारणा राखे । नेत्र चिकित्सकको क्षेत्रमा अर्थात् नेपालमा कम शुल्कमा मोतियाबिन्दुको शल्यक्रिया हुने गरे पनि त्यसलाई औद्योगिक राष्ट्र एवं विकसित मुलुकमा ५ हजार डलर लाग्ने उनले बताए । त्यसैले मोतियाबिन्दुको शल्यक्रिया नेपालका लागि वरदान सावित भएको रुइतको भनाइ छ । आफ्नो कर्ममा प्रतिबद्ध डा.रुइतले यसैमा आफू रमाएको बताए ।
अहिलेको अवस्थामा आफूलाई राष्ट्रपतिको अफर आए पनि त्यसलाई नस्वीकार्ने उनको भनाइ छ । आफ्नो कर्म आफ्ना लागि सबथोक भएको र सर्वसाधारणको सेवा गर्न पाउँदा त्यसले आफूलाई सर्वस्व दिएको उनले बताए ।

ॅनेपाल नेक्सस’ र ॅतमस’
महोत्सवकै अवसरमा पत्रकार सुधीर शर्माको पुस्तक ‘नेपाल नेक्सस’ को लोकार्पणसमेत गरिएको छ । लेखक शर्मा र नेता गगन थापाले पुस्तकको लोकार्पण गरेका हुन् । उनीहरुसँगै विश्लेषक यादव देवकोटाले ‘नेपाल नेक्सस ः राजनीतिमा भूराजनीति’ सेसनमा बहस चलाए । त्यस अवसरमा नेपालमा बढ्दै गएको राजनीतिक हस्तक्षेप एवं सीमा समस्या, राजनीतिक नेतृत्वमा देखिएको अदूरदर्शीपन, त्यसले निम्त्याएका समस्या, सीमा समस्या समाधानमा नदेखिएको पहल आदि विषयमा छलफल गरे । भूराजनीतिमाथि भइरहेको राजनीतिबारे उनीहरूले व्याख्या विश्लेषण गरे ।
महोत्सवमै नारायण ढकालको पुस्तक ‘तमस’ समेत लोकार्पण गरियो । उक्त अवसरमा साहियत्यकार खगेन्द्र संग्रौला र गनेस पौडेलसँग गफिए, भूपेन्द्र खड्का । यो सेसनमा ढकालको यही पुस्तकमाथि वक्ताहरूले चर्चा गरेका थिए । कार्यक्रममा संग्रौलाले पुस्तकसँगै नारायण ढकालको व्यक्तित्वमाथि आफ्ना धारणा राखेका थिए ।
लोक गीतदेखि खेलसम्म
शनिबारको पहिलो सेसन थियो, ‘लोकगीत कि लोकप्रियता ? यो सेसनमा पत्रकार नारायण अमृतसँग गायक एवं प्राज्ञ हरिदेवी कोइराला, युवा पुस्ताका गायक प्रकाश सपुत र लोक संगीत अभियन्ता झुमा लिम्बूले छलफल गरे । यसमा विशेषगरी त्यो बेलाको लोकगीतको अवस्था अर्थात् लोकगीतको आफ्नोपन र वर्तमानमा यसमा आएका परिवर्तनबारे उनीहरूले छलफल गरे । अहिलेका कतिपय विकृति विसंगतिप्रति पनि उनीहरूले चर्चा गरे । सुरुवातमा सुन्न बनाइएको लोकगीत अहिले हेर्न बनाइएको जस्ता आरोप लागेको विषयमा पनि कार्यक्रममा बहस भयो ।
लोकगीतलाई जोगाउँदै सकारात्मक रूपमा यसलाई अघि बढाउनुपर्नेमा उनीहरूले जोड दिए । यही समयमा ‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?’ शीर्षकमा गफिए, करुणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतम र भवसागर घिमिरे । उनीहरूले पछिल्लो समय बढ्दै गएको प्रविधिका कारण बालबालिकाका मानसिकतामा पारेको प्रभावबारे आ–आफ्ना धारणा राखे । महोत्सवको दोस्रो सेसनअन्तर्गत दुई कार्यक्रम सञ्चालन भए, ‘सपनाको सम्मान’ र नारायण ढकालको पुस्तक ‘तमस’ माथि अन्तरक्रिया । सपनाको सम्मान सेसनमा बाजुराका चिकित्सक डा.रुपचन्द्र विश्वकर्मा, दलित समुदायका अभियन्ता विमला गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवाली गफिए । यो सेसनमा उनीहरूले पिँधमा रहेको समुदायबाट यो स्थानसम्म आइपुग्न आफूले गरेका संघर्षका गाथा सुनाए ।
कार्यक्रममा ‘अध्ययनको भोक’ शीर्षकमा अन्तरक्रिया भयो । यसमा सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धरसँग सविना कार्कीले संवाद चलाइन् । यसमा उनीहरूले नेपालमा बढ्दै गएको पठन संस्कृति र शिक्षा एवं पठन अभिरुचिबारे छलफल गरेका थिए । साथै पठन अभिरुचिबारे समाजमा सचेतना जगाउनुपर्नेमा उनीहरूको जोड थियो ।
यही सेसनको अलि मियाँ कक्षमा ‘कारागारमा किताबी संसार’ शीर्षकमा संवाद चल्यो । यसमा संवाद गरे, महेशविक्रम शाह, धर्मराज विश्वकर्मा र कुमारी लामाले । उनीहरूले नेपालमा कारागारको अवस्था र त्यहाँका दुरवस्थाबारे चर्चा गरे । कारागारमा कतिपय अवस्थामा निर्दोष मानिस पनि परेको र उनीहरूका लागि लडिदिने कोही नभएको गुनासो गरे ।
महोत्सवको अर्को सेसन थियो, ‘बतासमा बारुदको गन्ध ः नक्सलवाददेखि लेखनसम्म’ । यसमा सहभागी भए, बंगाली लेखक मनोरञ्जन व्यापारी र दिनेश काफ्ले । रोचक किसिमको यो सेसनमा मनोरञ्जन व्यापारीले आफूले जीवनमा घटाएका वा घटाउनुपरेका अनौठा घटनाबारे रोचक प्रसंग सुनाए । साथै आफ्नो अध्ययन एवं बाल्यकालका कठिन तर रोचक प्रसंगबारे पनि व्यापारीले आफ्ना अभिव्यक्ति दिए ।
यही समयमा ‘राजनीतिको अपराधीकरण, अपराधको राजनीतीकरण’ शीर्षक सेसन रह्यो । यसमा गफिए, नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदी, पत्रकार हरिबहादुर थापा र जनकराज सापकोटा । उनीहरूले नेपालमा बढ्दै गएको आपराधिक गतिविधि र तिनका नियन्त्रणका उपाय मात्र सुझाएनन्, राजनीतिक वृत्तमा पनि हाबी भएको अपराधीकरणले कसरी समस्या निम्तिँदै गएका छन् भन्नेबारे छलफल गरे ।
नेपालमा कसरी अपराधीकरण हाबी भइरहेको छ भन्नेमा वक्ताहरूले अन्तर्राष्ट्रिय उदाहरणसमेत प्रस्तुत गरे । निर्वाचनताका जितका लागि उम्मेदवारहरूले कसरी गुन्डाहरूको सहारा लिन्छन् भनेरसमेत यो सेसनमा छलफल भयो । भ्रष्टाचारलगायत अभियोगमा बन्ने
गरेका छानबिन आयोग पनि जनताको आँखामा छारो हाल्न मात्र गर्ने गरिएको वक्ताहरूको
भनाइ थियो ।
महोत्सवको अर्को सेसन थियो, ‘जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श’ । यसमा अल्ट्राधावक मीरा राई, बडिबिल्डर ननिता वज्राचार्यसँग छलफलमा जुटिन्, शिवानीसिंह थारू । उनले नेपालको खेलकुदको अवस्था, यसका समस्या मात्र केलाएनन्, यसमा जम्न, अघि बढ्न र जित्न कति कठिन छ भन्नेबारे पनि चर्चा परिचर्चा गरे । यस क्रममा आफूहरूले भोग्नुपरेका समस्याबारे पनि उनीहरूले आ–आफ्ना धारणा राखे । यसै समयमा अर्को सेसन पनि चल्यो, ‘राइटिङ होम एन्ड होमल्यान्ड’ शीर्षकमा । यसमा गफिए, जमिल जन कोचाई र इतिशा गिरी । यसमा उनीहरूले आफ्नो जम्नस्थान र देशका बारेमा गरिने सिर्जना एवं साहित्यबारे चर्चा–परिचर्चा गरे ।

Page 9
कला र शैली

कलाकार क्षेत्री रहेनन्

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कलाकार दीपक क्षेत्रीको डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको छ । शुक्रबार राति फिल्मको काम सकेर घर पुगेका क्षेत्री शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ । क्षेत्रीकी पत्नी विपना बस्नेत छोरी रिस्तासहित मलेसियामा भएको कारण उनको अन्त्येष्टि आइतबार मात्रै हुने परिवार स्रोतले जनाएको छ ।
फिल्म ‘विश्वास’ मार्फत २०४३ सालदेखि अभिनय यात्रामा होमिएका कलाकार क्षेत्रीले त्यसपछि ‘दिदी’, ‘पृथ्वी’, ‘सिमाना’, ‘शंकर’, ‘अंशबन्डा’, ‘झोला’, ‘बुलबुल’, ‘बादशाह जुट’ हुँदै पछिल्लोपटक ‘छ माया छपक्कै’ मा देखिएका थिए । घाँटीको श्वासनलीमा मासु पलाउने समस्याका कारण लामो समय थलिएका उनको तीन वर्षअघि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पुनः अभिनयमा फर्किएका ५८ वर्षीय क्षेत्री भारतको दार्जिलिङमा जन्मेका हुन् । क्षेत्रीको निधनमा फिल्मकर्मीहरूले शोक व्यक्त गरेका छन् ।

कला र शैली

संगीतसँगै मौलिक खाना

- सीमा तामाङ

(काठमाडौं) - चिसो मौसम, कहिले घाम कहिले पानी । बौद्धस्थित होटल ह्यातको मैदानमा भने तामाङ संगीत र मौलिक खानपानको तातो लोभलाग्दो थियो । शुक्रबारदेखि जारी दुईदिने तामाङ सेलो तथा खाना महोत्सवमा पूर्वी तामाङ समुदायमा प्रचलित सेलोदेखि धादिङ, नुवाकोट क्षेत्रमा प्रचलित लोकभाका म्हेन्दोमाया र सिन्धुपाल्चोकमा प्रचलित खान्दुके भाकासम्मले सांगीतिक इन्द्रेणी निर्माण गर्‍यो । एकाएक मौसममा आएको बदलावलाई समेत ख्याल नगरी तन्नेरीहरूले डम्फु र टुङ्नाको तालमा कम्मर मर्काए, बुजु (चामलको तोर्मा) खाए, तोङ्बा चाखे ।
तामाङ समुदायको लोकसंगीत परम्परा र मौलिक खानपान प्रवर्द्धन गर्ने ध्येयले तामाङ कलाकार संघले गरेको महोत्सवको दोस्रो दिन गायक रोज मोक्तानदेखि चन्द्रकुमार दोङ र गायिका इन्दिरा गोलेसम्मले स्टेज तताए । लोकलयमा आधारित तामाङ सेलोलाई आधुनिक बान्कीमा पस्किने कार्यमा अब्बल योगदान दिएका गायक/संगीतकार चन्द्रकुमार दोङ र गायिका इन्दिरा गोले मैदानमा भेला भएका हजारौंका माहोल देखेर फुर्किए । तामाङ कला क्षेत्रलाई संस्थागत गर्नसमेत योगदान दिएका चन्द्रकुमार दर्शकदीर्घाबाटै गाएर स्टेज
उक्लिँदा दर्शक/श्रोता निकै उत्साहित देखिएका थिए । दर्शकको मनोविज्ञान बुझेर चन्द्रकुमार र इन्दिराले सेलो दोहोरी घन्काए–
आपा त गाङदान, मावली स्याङ्तान
के विना राम्रो होई मैच्याङ खेलाउँकी जुहारी
त्यसअघि नै लोकगायक जयनन्द लामाले स्टेज तताइसकेका थिए । ‘कलकत्ते काइँयो...’ का यी पुराना गायकलाई पनि दर्शकले राम्रै साथ दिए । सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डम्फु बजाएर उद्घाटन गरेको महोत्सवको पहिलो दिन प्रेम लोप्चान, बुद्ध लामा, मिलन लामालगायतले गीत गाएका थिए भने म्हेन्दोमाया कलाकार संघले नृत्य पस्केको थियो । दोस्रो दिन ताम्बा (संस्कृतिविद्) हरूले सेरग्याम गीत गाउँदै सांगीतिक महोल सुरु गरेका थिए । यसपछि रमला पाख्रिन, जोङबा कान्छा, लक्ष्मी स्याङ्तान र विना घलेले म्हेन्दोमाया लोक भाका सुनाए भने जमुना योञ्जन, सुरेश लामा, सन्तोष लामा, अविनाश घिसिङ, सुवास मोक्तान, अशोक लामा, मिङ्स लामा, प्रकाश तामाङ, उषा पाख्रिन, निमा पाख्रिन, ओम वाइबालगायतले स्टेज तताए । अनिता गोले र अभि लामाको समूहले नृत्य गर्‍यो ।
खाना र मौलिक भेषभूषाको समेत स्टलहरू राखिएको महोत्सवको आकर्षण तामाङ कुदाप (चुल्हो) को मेनुमा थियो । कुदापले मौलिक तामाङ परिकार, बुजु (तोर्मो), तेमे (तरुल), आलुम (पानीरोटी), गेङ (रोटी), फापरको फुलौरा, आइराक (रक्सी), नाकाला स्या (कुखुराको मासु) लगायत परिकार प्रस्तुत गरेको थियो । नयाँ पुस्तामा मौलिक सांस्कृतिक ज्ञान र सीप हस्तान्तरणको उद्देश्यले महोत्सव गरिएको संघका अध्यक्ष एवं गायक सञ्जीव वाइबाले बताए । महोत्सवले तामाङ समुदायभित्र प्रचलित थुप्रै सांगीतिक धारलाई समेत बाहिर ल्याएको महोत्सव संयोजक विश्व दोङले बताए ।
संघका सचिव रोशन फ्युबाका अनुसार पछिल्लो समय धादिङ, नुवाकोट र रसुवा भेकमा प्रचलित म्हेन्दोमाया लोकभाकामा एल्बम निकाल्ने थुप्रै कलाकार आइरहेका छन् । ‘नयाँ र पुराना कलाकारको पुनर्मिलनजस्तो पनि बन्यो यो महोत्सव,’ उनले भने ।

Page 10
समाचार

उच्च पहाडमा बाक्लो हिमपात

ताप्लेजुङ, संखुवासभा, मनाङ, मुस्ताङ, गोरखा, मुगुलगायत जिल्ला हिमपातले बढी प्रभावित
- कान्तिपुर संवाददाता

(गोरखा) - हिमपातले उत्तरी गोरखाका बस्तीहरूमा जनजीवन प्रभावित भएको छ । चुमनुब्री गाउँपालिकाअन्तर्गत सामागाउँ र छेकम्पारमा दुई फिटसम्म हिउँ जमेको छ । शनिबार बिहान १० बजेदेखि हिउँ पर्न रोकिए पनि जमेको हिउँ नपग्लँदा समस्या भएको स्थानीयले बताए ।
हिउँ परेर लाप्राक सेताम्य भएको छ । हिउँले सडक अवरुद्घ भएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष राज गुरुङले बताए । ‘सडकमै हिउँ जमेको छ, शुक्रबार बिहानबाट ट्रक र ट्याक्टर पनि चल्न सकेका छैनन्,’ उनले भने, ‘गाडी बारपाकमै रोकिएका छन् । हिउँ नपग्लिएसम्म गाडी चलाउन सकिने अवस्था छैन ।’ बारपाक र लाप्राक भएर गुम्दासम्म आउजाउ गर्ने सवारी रोकिएका छन् । शनिबार दिउँसोबाट भने हिउँ पर्न रोकिएको उनले बताए । ‘बादल लागिरहेकाले अझै थपिन्छ कि भन्ने छ, यहाँ मौसमको भर हुँदैन,’ उनले भने ।
लाप्राकको गुप्सीपाखा क्षेत्रमा मात्र करिब डेढ फिट हिउँ जमेको छ । भूकम्पपीडितका लागि गुप्सीपाखामा गैरआवासीय नेपाली संघले ५ सय ७३ घर निर्माण गरिरहेको छ । हिमपातका कारण उक्त एकीकृत नयाँ बस्तीको निर्माण पनि प्रभावित भएको छ । ‘हिमपात भएदेखि नै लाप्राकमा टेलिकमको टावरमा पनि समस्या आयो । फोन कतिबेला लाग्छ कतिबेला लाग्दैन,’ वडाध्यक्ष गुरुङले भने । गत वर्ष पुसको पहिलो साता हिउँ परेको थियो । पोहोरभन्दा यो पटक छिटो हिमपात भएको स्थानीयले बताएका छन् ।
हिमपातका कारण छेकम्पारमा पनि फोनको नेटवर्कमा समस्या आएको छ । शनिबार दिउँसोसम्म त्यहाँ एक फिट हिउँ जमेको चुमनुब्री गाउँपालिका–७ का वडाध्यक्ष पासाङ लामाले बताए । चिसो बढेपछि भित्रै आगो फुकेर न्यानोमा बस्न खोजेका भीमसेन गाउँपालिका–५ बगुवाका भण्डप्रसाद ढकालको घरमा आगलागी भएको छ ।
ढुंगामाटोले छाएको दुईतले घर आगोले ध्वस्त भएको प्रहरीले जनाएको छ । माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा चिसो बढेको छ । गोरखा सदरमुकाम, आरुघाट, भच्चेक र पालुङटारलगायत बजार क्षेत्रमा पनि चिसोले चहलपहल घटेको छ । सवारीसाधन पनि कम गुडेका छन् ।


यातायात अवरुद्ध, पाँच फिटसम्म हिउँ
संखुवासभा– नुनढाकीको गुफापोखरी सडक खण्डमा यातायात अवरुद्ध भएको छ । वर्षासँगै भएको हिमपात हुँदा उत्तरी र दक्षिणी क्षेत्रका चार गाउँपालिका बढी प्रभावित भएको स्थानीयले बताएका छन ।
जलजला, नुनढाकी, मकालु, पावाखोला, हटिया, किमाथांका र चेपुवालगायतका क्षेत्रमा भारी हिमपात भएको हो । हिमपातले जाडो बढाएको छ । नुनढाकीको गुफापोखरीमा दुई फिट हिउँ जमेको प्रहरीले जनाएको छ ।
उत्तरी हिमाली गाविसमा २ फिटदेखि ५ फिटसम्म हिउँ जमेको डीएसपी मिमबहादुर लामाले बताए । एक्कासि भारी
हिमपात भएपछि पर्यटकीय क्षेत्र गुफापोखरीका बासिन्दा घर बाहिर निस्कन नसकेको स्थानीय हिमा खनालले बताइन् । ‘चारैतिर हिउँले ढाकेको छ,’ उनले भनिन्, ‘सडकमा हिँउ जमेपछि गाडी चल्न सकेको छैन ।’

समाचार

कर्णाली तीरमै पुग्यो हिउँ

- राजबहादुर शाही
मुगुको रारामा रमाउँदै पर्यटक ।तस्बिर : राजबहादुर/कान्तिपुर

(मुगु) - सोरु गाउँपालिका–४ फोतु गाउँका बिर्ख शाही दंग छन् । मंसिरमै नदीको तिरसम्म हिउँ परेको दशकयता उनले देखेका थिएनन् । ‘यो साल त अचम्मै भयो, यति छिट्टै हिउँ पर्‍यो, त्यो पनि कर्णालीको तिरसम्मै पुग्यो,’ उनले भने ।
शुक्रबार राति भएको हिमपातले कर्णाली नदी छोएको छ । डाँडाकाँडामा परे पनि नदीको खोंचमै हिउँ पुग्दा शाहीजस्तै अरू पनि अचम्मित छन् । कहिल्यै हिउँ नपर्ने औल बस्ती लिब्रु, रावलबाडा र हुम्लाको तुम्च गाउँसम्म हिमपात भएको छ । मंसिरमा परेको बाक्लो हिउँ पग्लिन धेरै दिन लाग्ने थार्प गाउँका मयलाल बोहराले बताए । ‘मंसिरमै हिउँ परेपछि पुस–माघमा के अवस्था होला ?’ उनले भने, ‘यो साल चिसोले सताउने भयो ।’
हिमपात भएपछि कोही खुसी र कोही चिन्तित छन् । खेतीपाती गर्ने उत्साहित देखिन्छन् । अन्नबाली सप्रिने, फलफूल उत्पादन बढ्ने, जडीबुटी उम्रिने र पानीका मुहान बढ्ने हुनाले राम्रै भएको बोहराले बताए । हिउँ परेपछि सुबिकाल लाग्ने उनको भनाइ छ । ‘अब त खेतबारीमा जेठासी बाली (जौं, गहुँ) राम्रो हुने भयो,’ उनले भने, ‘बाली छरेपछि हिउँ परेकाले राम्रै होला ।’
जागिरको सिलसिलामा कार्यालयमा आउजाउ गर्ने, परियोजनाको काम हेर्न फिल्डमा गइरहने र सामान ओसारपसार गर्नेहरू भने चिन्तित छन् । बाक्लो हिउँ र अत्यधिक चिसोले लेकाली बस्तीका विद्यार्थीलाई पनि गाह्रो
पारेको छ । हिमपातका कारण जिल्लाको सडक र हवाई यातायात सेवा अवरुद्ध भएको छ । मुगु र जुम्लाको सीमाक्षेत्र घुच्चीमा करिब तीन फिट हिउँ परेर नाग्मा–गमगढी सडकमा आवागमन अवरुद्ध छ ।
पुस–माघमा पनि हिमपातले प्रायः अवरुद्ध हुने यो सडक मंसिरमै अवरुद्ध हुँदा व्यापारी चिन्तित छन् । सुर्खेत र नेपालगन्जबाट सामान ल्याउन मुस्किल हुने गरेको गमगढी बजारका व्यापारी ज्ञानप्रसाद भट्टले बताए । ‘अहिल्यै सडक अवरुद्ध भइसक्यो । चिन्ता भयो,’ उनले भने, ‘पुस–माघमा त झन् के हुने होला ।’
रारा विमानस्थलमा शुक्रबारदेखि हवाई सेवा बन्द भएको छ । धावनमार्गमा एक फिट हिउँ जमेको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मोहन गिरीले हवाई सेवा अवरुद्ध भएपछि सुर्खेत, नेपालगन्ज जान र त्यहाँबाट जिल्लामा आउन समस्या भएको बताए । टिकट काटेका थुप्रै यात्रु अहिले रारा र सुर्खेत तथा नेपालगन्ज एयरपोर्टमा अलपत्र छन् ।
टल्कियो रारा
जिल्लाको पर्यटकीय गन्तव्य रारा शनिबार बिहानैदेखि चाँदीझैं टल्किएको छ । शुक्रबार
मध्याह्नदेखि हिउँले ढाकेको रारा शनिबार आकाश खुलेपछि चम्किलो देखिएको हो । घुम्न आएका पर्यटकहरू फोटो खिच्दै हिउँको डल्लोले हिर्काउँदै निकै
रमाएका छन् ।
पर्यटक मात्र नभई राराका होटल व्यवसायी, निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी पनि राराको सौन्दर्यसँग रमाइरहेका हुटुस्थित डाँफे गेस्टहाउसका म्यानेजर बलिराज शाहीले बताए । ‘चरा पनि हिउँमा उडेर आनन्द लिइरहका छन्,’ उनले भने ।
बीचमा निलो ताल र वारिपारि हिउँले ढाकेको सेताम्य दृश्यले रारामा रहेकाहरूको मन लोभिएको छ । त्यसमाथि पर्यटकले तालमा ढुंगा चढेर भरपूर आनन्द लिइरहेका रारा राष्ट्रिय निकुञ्जका खरिदार महेन्द्र खड्काले बताए । उनका अनुसार रारामा दुई फिट हिउँ परेको छ । हिउँले रूखहरू निहुरिएका छन् भने जमिन कपासजस्तै सेताम्य देखिन्छ । नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै गर्दा राराको यस्तो सौन्दर्यले भ्रमण वर्षको सफलतामा टेवा पुर्‍याउने अभियानका कर्णाली प्रदेश सदस्य देवीकृष्ण रोकायाले बताए ।

Page 11
अर्थ वाणिज्य

३० किलोमिटर ग्राभेलयोग्य

काठमाडौं–तराई द्रुत मार्ग
- विमल खतिवडा
मकवानपुरको राजदमारमा बाटो सम्याउँदै रोलर ।तस्बिर ः विमल/कान्तिपुर

(लेनडाँडा, मकवानपुर) - सेनाले जिम्मा लिएको काठमाडौं–तराई द्रुत मार्गको ५५ किमि सडकमध्ये ३० किमि ग्राभेलका लागि योग्य भएको छ । सडकको कुल लम्बाइ ७२.२ किमिमध्ये १७.२ किमिमा पुल, टनेल पर्छन् ।
ललितपुरको खोकनाबाट बाराको निजगढतर्फ लाग्दै गर्दा चोभार पुलको आडैमा काठमाडौं–तराई द्रुतमार्गको ठूलो बोर्ड देखिन्छ । तर, बोर्डमा लेखिएको नामअनुसार काम देख्न भने पाइएको छैन । कारण यो खण्डमा जग्गा विवाद थियो । त्यसमा पनि सिकाली क्षेत्रको पुरातात्त्विक इलाका । यही इलाकाबाट सडक निर्माण गर्दा पुरातात्त्विक क्षेत्र मासिने भन्दै स्थानीयले विरोध गरे ।
सुरुमा एसियाली विकास बैंक (एडीबी) को प्रस्तावित रेखांकनले यही क्षेत्रबाट सडक निर्माण हुने उल्लेख गरेको थियो । अहिले स्वीकृत विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) अनुसार यो क्षेत्रलाई बाइपास गरिएको छ । ‘पहिला सिकाली चौरबाट सडक पर्थ्यो, अहिले स्थानीयको मागअनुसार उक्त क्षेत्रलाई बाइपास गरेर अघि बढेका छौं,’ आयोजनाका कार्यान्वयन तथा अप्रेसन महाशाखा प्रमुख कर्णेल विश्वबन्धु पहाडीले भने, ‘प्रारम्भिक रेखांकन स्वीकृत डीपीआरअनुसार अब सडक वाग्मती किनार भएर जानेछ । समस्या मुआब्जाको थियो, अहिले कतै अवरोध छैन,’ उनले भने । यो खण्डको सर्भे डिजाइनको काम भइरहेको छ । पुसको पहिलो हप्ताबाट निर्माणको काम सुरु हुने सेनाको दाबी छ ।
यो क्षेत्रबाट करिब चार किमि अघि बढेपछि भने कतै सडक त कतै वाल निर्माण गरिरहेको दृश्य देख्न पाइन्छ । जुन क्रम निजगढसम्मै चलेको छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट सुरु सडकले पछिल्लो समय गति लिँदै गएको छ । जता हेर्‍यो उतै पहाड । कतै भीर त कतै चट्टान नै चट्टान । ती ठाउँमा डोजरले भीरलाई सम्म बनाइरहेका देख्न पाइन्छ । ठूला पहाड काटेर फराकिलो बनाइएको छ । अप्ठ्यारा पहाड भत्काउन सेनाले विस्फोटक पदार्थ प्रयोग गर्दै आएको छ । हरेक निर्माण क्षेत्रमा पहुँच मार्ग बनाइएको छ । जसले गर्दा निर्माण क्षेत्रमा पुग्न सहज भएको छ । पहाड कटिङको काम रातिसमेत हुने गरेको छ । ‘दुई सिफ्ट गरेर काम भइरहेको छ,’ महादेवटार बेस क्याम्पका मेजर पूर्णचन्द्र ढकालले भने, ‘कटिङको काम बेलुका र आरी वाल र फिलिङ गर्ने काम दिउँसो हुन्छ ।’ उनका अनुसार बिहान ५ बजेदेखि राति ११ बजेसम्म दुई सिफ्टमा काम हुन्छ । ठाउँठाउँमा रुख व्यवस्थापनमा सेना खटिएको भेटिन्छ । ‘असार मसान्तसम्म सडक निर्माण सक्ने लक्ष्यसहित काम भइरहेको छ,’ कर्णेल पहाडीले भने, ‘अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ ।’ असार मसान्तसम्म सबग्रेड लेबलको सडक बनाइनेछ ।
०७४ वैशाख २१ गते मन्त्रिपरिषद्ले सेनाको निर्माण व्यवस्थापनमा आयोजना निर्माण गर्न दिने निर्णय गरेको थियो । ०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढ पुगेर यो मार्गको शिलान्यास गरेका थिए । सरकार आफैंले बनाउन लागेको यो पहिलो आयोजना हो । राष्ट्रिय गौरवका २१ आयोजनामध्ये काठमाडौं–तराई द्रुत मार्ग एक प्रमुख आयोजना हो ।
मख्खुबेंसी बेस क्याम्पका मेजर अजित श्रेष्ठका अनुसार यो खण्डको ४ सय मिटरको चट्टान काट्ने काम सकिइसकेको छ । भीरखण्डको ३६ सय मिटर पहाड कटिङको काम भइरहेको छ । यसमा ४ सय मिटरको काम सकिइसकेको छ । अहिले सडक निर्माण, क्रस ड्रेनेजमा पाइप कल्भर्ट, वक्स कर्ल्भट निर्माणको काम भइरहेको छ । ७२ दशमलव २ किमि सडकको लागत १ खर्ब ५५ अर्ब रहेको छ ।
१० ठाउँमा सेनाको क्याम्प
आयोजना निर्माणको काम सञ्चालन गर्नका लागि सेनाले विभिन्न १० ठाउँमा क्याम्प खडा गरेको छ । खोकना, मख्खुबेंसी, सिस्नेरी, महादेवटार, धेद्रे, लेनडाँडा, बुदुने, राजदमार, वागदेव र निजगढमा क्याम्प खडा गरिएको छ । एउटा क्याम्पमा करिब १ सय जना सेना राखिएको छ । ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम भइरहेको छ । कर्णेल पहाडीका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २० र ०७५/०७६ मा १० वटा ठेक्का गरिएको हो । जसमध्ये ५ वटा प्याकेजमा सेनाले आफ्नै जनशक्ति र साधन प्रयोग गरेर काम गरिरहेको छ । मख्खुबेंसी, सिस्नेरी, लेनडाँडा, बुदुने र निजगढमा सेनाले काम गरिरहेको छ । जहाँ पहाड काट्ने र फिलिङको काम भएको छ । निजगढको ९ किमि क्षेत्रको काम सकिसकेको छ ।
८७ वटा पुल
पहिलो चरणमा सडक निर्माणको काम मात्र हुनेछ । पहुँच मार्गमा बेलिब्रिज निर्माण गरेर सडक निर्माणको काम तीव्र पारिएको छ । पुल र सुरुङमार्गको काम आउने आर्थिक वर्षमा सुरु हुनेछ । सडकमा ८७ वटा पुल निर्माण हुनेछन् । जसमा विशेष प्रकृतिका १६ वटा पुल निर्माण गरिनेछन् । बढीमा ५ सय २० मिटर लामा र ८० मिटर अग्ला पुल निर्माण हुनेछन् । कुल सडकमध्ये १०.६ किमि पुल निर्माण हुनेछ । सडकको चौडाइ पहाडी भूभागमा २५ र समथरमा २७ मिटर रहनेछ ।
३ वटा सुरुङमार्ग
यो सडक खण्डमा तीन वटा सुरुङमार्ग निर्माण गरिनेछ । आयोजनाका अनुसार महादेवडाँडामा ३ दशमलव ३५५ किमि, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किमि रहेको छ । ट्वीइन टनेल हुनेछ । भित्रिने र बाहिरिने गरेर साढे १२ किमि सुरुङमार्ग निर्माण हुनेछ । ‘पुल र सुरुङमार्ग निर्माणका लागि ठेक्का बन्दोबस्तीसम्बन्धी पूर्वतयारीको काम भइरहेको छ,’ कर्णेल पहाडीले भने, ‘निर्माणको सुपरीवेक्षणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने काम अघि बढाएका छौं, नयाँ आर्थिक वर्षबाट ठेक्का गरेर काम सुरु गर्नेछौं ।’ उनका अनुसार प्रारम्भिक रूपमा ६ वटा परामर्शदाता छनोट भएका छन् । जसबाट एक जना छनोट गरिनेछ ।


मकावनपुरमा धेरै क्षेत्र
सडक निर्माणको क्रममा सबैभन्दा बढी क्षेत्र मकवानपुरमा परेको छ । आयोजनाका अनुसार चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुरमा पर्छ । त्यस्तै काठमाडौं ४ किमि, ललितपुर ७ दशमलव ९, बारा ७ दशमलव ६ किमि रहेको छ । आर्थिक वर्ष ०८१/०८२ सम्म निर्माण अवधि रहेको यो सडक सञ्चालनमा आएपछि १ घण्टामा काठमाडौंबाट बारा पुगिनेछ । अहिले निजगढबाट काठमाडौं आउन छोटो मार्ग प्रयोग गर्दा पाँच घण्टा लाग्छ ।
कामको प्रगति
आयोजानाका अनुसार अहिलेसम्म सडक निर्माणको काम ८० प्रतिशत सकिएको छ । असार मसान्तसम्म सब ग्रेड लेबल (पिच गर्ने पूर्वतयारी) सम्मको सडक बनाइनेछ । पुल र सुरुङ निर्माणको काम सुरु हुनै बाँकी छ । सेनाका अनुसार हालसम्म १ करोड ३५ लाख ५७ हजार घनमिटर कटिङको काम भएको छ । त्यस्तै १५ लाख घनमिटर फिलिङ गर्ने काम सकिएको छ । क्रस पाइप, कल्भर्ट, रिटेनिङ वाल, आरी लगाउने काम भइरहेको छ । सिस्नेरी इलाकामा १२० मिटर अग्लो पहाड काटेर सडक निर्माण गरिएको छ । ‘१२० मिटर अग्लो पहाडलाई काटेर ७० मिटरसम्म झारेका छौं,’ सिस्नेरी क्याम्पका मेजर राजेशकुमार देवले भने, ‘अप्ठ्यारो ठाउँमा ब्लास्ट गर्ने काम भएको छ ।’ सडक मार्गको अधिकार क्षेत्रअन्तर्गत समथरमा १ सय मिटर र पहाडी भेगमा ५० मिटर रहेको छ ।
१ रुख बराबर २५ बिरुवा
सेनाले १ रुख बराबर २५ वटा बिरुवा रोप्न सुरु गरेको छ । जसका लागि सेनाले क्याम्पभित्र छुट्टै नर्सरी स्थापना गरेको छ । अहिले २ वटा क्याम्पमा नर्सरी राखिएको छ । निजगढमा १ लाख १० हजार ७ सय बिरुवा उत्पादन गरिएको छ । जहाँ टिक, खयर, इपिलइपिल, सिमल, सिसौ, अमला, निम, बेल रहेको छ । त्यस्तै राजदमार क्याम्पमा ७० हजार ४ सय २० बिरुवा तयार पारिएको छ । वृक्षरोपण कार्यदलका प्रमुख कर्णेल सुशीलकुमार कार्कीका अनुसार बाराको कोल्हवी नगरपालिका–८ स्थित सहजनाथ साझेदारी वन क्षेत्रमा गत असोजमा ५ हजार बिरुवा रोपिएको छ । ५ दशमलव ६१ हेक्टर क्षेत्रफलमा टिक, सिमल, शिरीष र जामुन प्रजातिका बिरुवा रोपिएको हो ।

अर्थ वाणिज्य

स्याटेलाइट राख्नेबारे कूटनीतिक दबाब

- विजय तिमल्सिना

(काठमाडौं) - अमेरिकी राजनीतिक जेम्स वाल्सको नेतृत्वमा ७ सदस्यीय अमेरिकी टोली आइतबार नेपाल आउँदै छ । नेपालमा पिस कर्प अधिकृत रहिसकेका वाल्स पूर्वअमेरिकी सांसद हुन् । उनी प्रस्ट नेपाली बोल्न सक्छन् र हाल वासिङ्टनस्थित के एन्ड एल ल फर्ममा गभरमेन्ट अफेयर काउन्सिलका रूपमा कार्यरत छन् ।
उनीसहित नेपाल आउने टोलीमा साना स्याटेलाइटमार्फत इन्टरनेट वितरण गर्ने काम गरिरहेको अमेरिकी कम्पनी अस्ट्रानिसका संस्थापक जोन गेडमार्क, नेटवर्क सिस्टमको काम गर्ने अर्को अमेरिकी कम्पनी ह्युग्सका अध्यक्ष बाहरम पउरमान्ड, अस्ट्रानिसका बिजनेस डेभलपमेन्ट हेड अली युनिससहितका व्यक्तिहरू छन् ।
उनीहरूले तीनदिने नेपाल बसाइँका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायत सरकारका उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम तय भएको छ ।
यो टोली आउनु केही साताअघि नै अस्ट्रानिस र ह्युग्सले तयार पारेको प्रस्ताव काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगिसकेको छ । नेपालजस्तो मुलुकले परम्परागत ठूलो स्याटेलाइट राख्नुभन्दा अहिले विकासको क्रममा रहेका साना स्याटेलाइटमार्फत आफ्नो ब्यान्डविथ आवश्यकता पूर्ति गर्न सक्ने र यसको लागत धेरै सस्तो पर्ने तर्कसहित पेस गरिएको प्रस्तावमाथि छलफलका लागि अमेरिकी टोली नेपाल आउन लागेको हो ।
गत फागुनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्स भ्रमणको क्रममा फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग नेपालको स्याटेलाइट स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएपछि यसले सर्वत्र चासो र चर्चा पायो ।
यो समझदारीसँगै विशेषगरी तीन तहबाट यसको चर्चा भइरहेको छ । सरकारले आफ्नो निर्णयको बचाउ गर्दै अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) सन् १९८४ मा नेपालको लागि छुट्याएको स्लट उपयोग गर्दै स्याट उपयोग गर्ने र नेपाललाई पनि स्याटेलाइट भएको राष्ट्रको पहिचान दिलाउने तर्क गर्दै आएको छ ।
अर्कोथरीले भने नेपालजस्ता राष्ट्रको लागि स्याटेलाइट राख्न हतारिनुको सट्टा यसको लागत र व्यापार मोडालिटी टुंग्याएर मात्रै निर्माणमा जानुपर्ने तर्क गर्छन् । केहीले भने स्याटेलाइट प्रविधि खरिदका लागि सरकारले खुला प्रतिस्पर्धा नगरी सोझै कुनै देशको एउटा कम्पनीसँग समझदारी गरेको भन्दै यसको लागतप्रति शंका गर्छन् ।
देशभित्र यी तीनखाले चर्चा भइरहे पनि कूटनीतिक रूपमा भने फ्रान्सेली कम्पनीसँग समझदारीलगत्तै सरकारलाई दबाब बढेको छ । फ्रान्ससँगको समझदारीलगत्तै चीन, रुस र अमेरिकी सरकारी तवरबाटै इच्छा जाहेर भएको सञ्चार मन्त्रालयका एक अधिकारीले बताए । दूरसञ्चार प्राधिकरणले २०७३ सालमा स्याटेलाइट निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा आशय पत्र माग गरेको थियो । उक्त बेलामा विभिन्न मुलुकका २२ वटा कम्पनीले आशय पत्र पेस गरेका थिए । अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुरसहित क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेयिबा, रसिया र इजरायलका कम्पनीहरूले आशय पत्र पेस गरेका थिए ।
आशय पत्र अध्ययन समितिमा रहेका प्राधिकरणका एक जना निर्देशकका अनुसार आशय पत्र पेस गर्ने भारत र चीनका कम्पनीहरूले आफ्नै लगानीमा स्याटेलाइट निर्माण गरिदिने र नेपालले पछि पैसा तिरे हुने खालको प्रस्ताव गरेका थिए ।
अन्य देशका केही कम्पनीहरूले भने सरकारी तवरबाट सहुलितपूर्ण ऋणका लागि पहल गरिदिने प्रस्ताव पेस गरेका थिए । ‘त्यो बेला स्याटेलाइट निर्माणका लागि नभई हामीले स्याटेलाइट राख्यौं भने कुनकुन देशका कुनकुन कम्पनीको चासो होला भन्ने जान्नका लागि आशय पत्र माग गरिएको थियो,’ ती अधिकारी भन्छन्, ‘धेरै देशबाट प्रस्ताव परेपछि स्याटेलाइट राख्दा धेरै विकल्प पाइने आशा पलाएको थियो ।’
आशय पत्र माग्दा यति धेरै प्रस्ताव परे पनि सरकारले सोझै एक कम्पनीलाई जीटुजी प्रक्रियामार्फत स्याटेलाइटको निर्माण गर्ने जिम्मा दिँदा लागत महँगो पर्ने र सरकारको भूमिका कम हुने ती अधिकारीको ठम्याइ छ । आशय पत्र माग्दा भारतको सरकारी निकाय इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इस्रो) ले नेपालको स्लट भाडामा लिने र त्यसबापत ३ अर्ब रुपैयाँ तिर्ने प्रस्ताव पनि राखेको थियो ।

नेपालको स्याटेलाइटमा भारत र चीनको चासो स्वाभाविक भएको जानकारहरू बताउँछन् । नरेन्द्र मोदी प्रधानमन्त्री भएलगत्तै सार्क स्याटेलाइट अन्तरिक्षमा पठाएर छिमेकी देशका लागि मित्रताको चिनो भएको घोषणा गरेका थिए । यो स्याटेलाइटमा सार्क सदस्य राष्ट्रहरूका लागि ट्रान्सपोन्डरहरू छुट्याइएको छ । केयू ब्यान्डमा १२ वटा ट्रान्सपोन्डर रहेको उक्त स्याटेलाइटको एउटा ट्रान्सपोन्डर नेपालका लागि छुट्याइएको छ । पाकिस्तानबाहेक सार्क राष्ट्रका अन्य सदस्यहरूले पनि ट्रान्सपोन्डर पाएका छन् । उक्त स्याटेलाइटबाट प्राप्त हुने ब्यान्डविथ रिसिभका लागि भारतीय प्राविधिकले मन्त्रालयमा ग्राउन्ड स्टेसन तयार पारिदिए पनि यसको उपयोग हुन सकेको छैन । भारतीय पक्षले यसको उपयोगको लागि निरन्तर स्मरण गराउँदै आएका छन् ।
अरूले उपलब्ध गराएको स्याटेलाइट प्रयोग गर्दा सुरक्षा र सूचना संवेदनशीलता भन्दै सरकारले भने त्यसको प्रयोगको लागि अनिच्छा देखाउँदै आएको छ । केही महिनाअघि सञ्चालित जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य देशको स्याटेलाइट प्रयोग गर्दा सुरक्षा चुनौती हुने भन्दै आगामी ४ वर्षभित्र आफ्नै स्याटेलाइट राख्ने बताएका थिए ।
नेपालले चीनसँग भने स्याटेलाइट तस्बिरको लागि प्राविधिक सहयोग लिइरहेको छ । २०७५ मा चीनले विकास निर्माणको बेलामा आवश्यक पर्ने स्याटेलाइट इमेल लिनका लागि सघाउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार नापी विभागले चीनसँग यस्तो प्राविधिक सहयोग लिइरहेको छ । नेपाली सरकारी निकायको अनुरोधमा चीनले यस्तो इमेल खिचेर नेपाललाई सहयोग गर्दै आएको छ । फागुन तेस्रो साता फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग समझदारीमा तीन महिनाभित्र स्याटेलाइट राख्नको लागि सम्झौता गर्ने बुँदा राखिएको थियो । तर, फ्रान्सेली कम्पनीसँग समझदारी भएको एक वर्ष हुन लाग्दा पनि सम्झौता भइसकेको छैन । यो बीचमा फ्रान्सेली कम्पनीका प्रतिनिधिहरू पटकपटक नेपाल आएर छलफल गरिरहेका छन् ।
सरकारले फ्रान्सेली कम्पनीसँग सहुलितपूर्ण ऋण र प्राविधिक विषयमा छलफल भइरहेको बताए पनि विभिन्न राष्ट्रले स्याटेलाइट निर्माणमा देखाएको चासोका कारण सबैसँग एक पटक छलफल गरेर मात्रै प्रक्रिया अघि बढाउने सरकारको सोच रहेको एक अधिकारी बताउँछन् ।

अर्थ वाणिज्य

शाखाबिनै बिमा सुविधा

- कान्तिपुर संवाददाता

(काठमाडौं) - बैंकले जस्तै बिमा कम्पनीले पनि ‘शाखारहित बिमा’ कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन् । ग्रामीण भेगमा लघु बिमा प्रोत्साहन गर्ने उद्देश्यले बिमा समितिले कम्पनीलाई यस्तो सुविधा दिएको हो । यसका लागि समितिले ‘शाखारहित घुम्ती बिमा सेवासम्बन्धी मार्गदर्शन– २०७६’ जारी गरेको छ । सोही मार्गदर्शनअनुसार कम्पनीले तोकिएको मापदण्ड र सीमाभित्र रहेर बिमा घुम्ती सेवामार्फत बिमा गर्न पाउने भएका हुन् । मार्गदर्शनमा घुम्ती बिमा भन्नाले बिमित रहेको स्थान वा बिमितको घरदैलोमा नै बिमक पुगेर गरिने बिमा भनेर परिभाषित गरिएको छ ।
घुम्ती बिमा कार्यक्रम सञ्चालन गर्न कम्पनीले समितिबाट पूर्वसिफारिस लिनुपर्नेछ । यसअघि समितिले शाखा विस्तार गर्न तोकिएको क्षेत्रमा भने अनिवार्य रूपमा नै शाखारहित घुम्ती बिमा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
नयाँ व्यवस्थाअनुसार सावधिक जीवन बिमा, म्यादी बिमा, लघु बिमा, कृषि बिमा, दुर्घटना बिमा र ५० लाख रुपैयाँसम्मको घर बिमा गर्न पाउनेछन् ।
घुम्ती कार्यक्रम बिमा कम्पनीले गाउँपालिकामा मात्र सञ्चालन गर्न पाउने भए तापनि जीवन बिमा कम्पनीले भने महानगरपालिका वा उपमहानगरपालिकाभित्र रहेका सीमावर्ती क्षेत्रमा भने घुम्ती बिमा सेवा उपलब्ध गराउन पाउनेछन् ।
शाखारहित बिमामार्फत पाँच लाखभन्दा बढी बिमांक भएका कुनै पनि (जीवन/निर्जीवन) कार्यक्रम सञ्चालन गर्न पाइने छैन । यस्तै एकल बिमा शुल्क भएको जीवन बिमा, वैदेशिक रोजगारी म्यादी जीवन बिमा घुम्ती सेवामार्फत गर्न पाइने छैन ।
निर्जीवन बिमा कम्पनीले सामुद्रिक बिमा, हवाई बिमा, इन्जिनियरिङ बिमा र मोटर बिमा नपाउने व्यवस्था मार्गदर्शनमा उल्लेख छ । घुम्ती बिमा सेवा बिमा कम्पनीहरूले संयुक्त रूपमा पनि गर्न पाउने छुट मार्गदर्शनमा छ । ‘बिमकले घुम्ती बिमा कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित बिमक संघ वा जीवन बिमा संघ वा दुवैसँग समन्वय गरी गर्न सक्नेछ,’ मार्गदर्शनमा भनिएको छ, ‘एक वा एक वा बिमकहरू एकआपसमा समन्वय गरी घुम्ती बिमा सेवा सञ्चालन गर्न सक्नेछन् ।
ग्रामीण क्षेत्रमा कृषि तथा पशुपन्छी बिमाको दायरा विस्तार गर्ने उद्देश्यले बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई जिल्ला तोकेर शाखा विस्तार गर्न निर्देशन दिएको थियो । अब भने कम्पनीले शाखा नखोली घुम्ती सेवामार्फत बिमा व्यवसाय गर्न पाउनेछन् ।
बिमा समितिले बैंकमार्फत हुने बिमालाई पनि आफ्नो नियमनको दायरामा ल्याउने प्रयास गरेको छ । ‘बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ मार्फत समितिले यस्तो प्रयास गरेको हो । निक्षेप संकलनको प्रतिस्पर्धामा बैंक तथा वित्तीय संस्थाले ठूला र महत्त्वाकांक्षी योजना सार्वजनिक गर्न थालेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि बिमा समितिले कडाइ गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले मनपरी रूपमा बिमा योजना सार्वजनिक गर्न पाउने छैनन् । तोकिएको बिमा योजना सञ्चालन गर्दा पनि निश्चित मापदण्ड पूरा गर्नुपर्नेछ । नयाँ व्यवस्थाअनुसार घातक रोगको बिमांकको अधिकतम १० लाख, दुर्घटना बिमाको अधिकतम १० लाख र औषधोपचार बिमाको अधिकतम १ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
यस्तै, घातक रोगको बिमांकको हद १० लाख र औषधोपचार बिमा पूरक करारको हद १ लाख रुपैयाँ तोकिएको छ । त्यसो त बैंकले १० लाखभन्दा बढीको पनि बिमा गर्न पाउँछन् । त्यसका लागि बिमित सदस्यको स्वास्थ्य जाँच गरी प्रत्येक घातक रोगको चिकित्सकको स्वास्थ्य परीक्षण प्रतिवेदन संलग्न राखी बिमकले जोखिमांकन (अन्डरराइटिङ) गरेको हुनुपर्ने गरिएको छ । यसको अर्थ बैंकले १० लाखभन्दा बढीको बिमा गर्न कडाइ गरिएको भन्ने हो ।
बिमकले विभिन्न संस्थासँगको सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बिमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै तिर्ने भएमा यसको बिमा प्रिमियम शुल्क ‘संस्था स्वयंले ब्यहोर्ने’ भन्ने सूचना दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
मार्गदर्शनमा संस्थाले आफ्ना निक्षेपकर्ता, सदस्य जा ऋणीको औषधोपचार बिमा तथा घातक रोग राइडरको सुविधा प्रदान गर्दा ग्राहकको पहिचान (केवाईसी) र स्वास्थ्यसम्बन्धी फारम भर्नुपर्नेछ ।

अर्थ वाणिज्य

लघुवित्त र बिमाको सेयरमा आकर्षण

साताको सेयर
- कान्तिपुर संवाददाता

(काठमाडौं) - पछिल्लो दुई सातायता बजारमा लघुवित्त र बिमा समूहका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । केही महिनाअघिदेखि बजारमा बिमा र लघुवित्त कम्पनीका सेयर कारोबार घटेको थियो । पछिल्ला सातामा फेरि ती कम्पनीको सेयर कारोबार बढ्न थालेको हो ।
पछिल्लो एक सातामा निरन्तरजसो सेयर बजार बढिरहेको छ । यो अवधिमा सूचीकृत सबै समूहका कम्पनीको सेयर कारोबार बढेको छैन । केही राम्रा सीमित कम्पनीको सेयर कारोबार मात्र बढेको छ । यसलाई बजारका जानकारहरूले ‘सट्टेबाजी’ बजार बढेको रुपमा विश्लेषण गरेका छन् । सूचीकृत सबै कम्पनीको सेयर नबढेकाले सीमित समूह र कम्पनीका सेयर मात्र बढेकाले सट्टेबाजी भन्ने सकिने उनीहरूको भनाइ छ ।
यो साताको कुल कारोबारमा करिब साढे १७ प्रतिशत कारोबार हिस्सा लघुवित्त समूहको छ । गत साताभन्दा यो एक प्रतिशत विन्दुले बढी हो । सो अवधिमा बिमा समूहको कारोबार हिस्सा करिब १८ प्रतिशत छ । गत साता कुल कारोबारमा बिमा समूहको हिस्सा १७ प्रतिशत मात्र थियो ।
बजारमा बिमा र लघुवित्त समूहको कारोबार हिस्सा बढेसँगै बैंकिङको घटेको छ । यो साता २ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये बैंकिङ समूहको मात्र ८० करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कुल साप्ताहिक कारोबारको करिब ३१ प्रतिशत मात्र हो । साप्ताहिक कारोबारमा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा हालसम्मकै कम हो । गत साता यस्तो हिस्सा ३८ प्रतिशत थियो ।
सामान्य अवस्थामा बैंकिङ समूहले कुल सेयर कारोबारको करिब ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगट्दै आएको छ । तर, पछिल्ला ५/६ महिनायता यस्तो हिस्सामा निकै उतारचढाव देखिँदै आएको छ । कहिले यस्तो हिस्सा बढेर ६४ प्रतिशतसम्म पुगेको छ भने कहिले ४२ प्रतिशतसम्म पनि झरेको छ । हाल बजारमा २७ वाणिज्य बैंकका सेयर सूचीकृत छन् । ग्लोबल आईएमई र जनता बैंकको मर्जरपछि सूचीकृत बैंक संख्या २६ मा झर्नेछ । सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सेयर सूचीकृत छैन ।
बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको अपरिष्कृत प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । धेरैको लाभांश पनि घोषणा भइसहेको छ । यही कारण पनि बैंकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षक कम रहेको जानकारहरू बताउँछन् ।
यो साता करिब ३६ हजार ४ सय कारोबारबाट १ सय ९० कम्पनीका ८२ लाख ४६ हजार कित्ता सेयर किनबेच भए । सो अवधिमा कुल बजार पुँजीकरण करिब ५२ अर्ब रुपैयाँले विस्तार भएको छ ।
यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।

Page 12
अर्थ वाणिज्य

अर्गानिक उत्पादन र प्रमाणीकरण दुवै झन्झटिलो

अर्गानिक प्रमाणीकरण नभएको चिया आन्तरिक र भारतको बजारमा मात्र निर्यात हुन्छ । अर्गानिक प्रमाणीकरणका लागि विश्वसनीय अन्तर्राष्ट्रिय निकायसम्म पहुँच पुगेको छैन ।
- विप्लव भट्टराई
इलामको देउमाई नगरपालिकास्थित उच्च पहाडी सहकारी संस्थाले सञ्चालन गरेको चिया कारखाना । जिल्लामा अर्गानिक चिया उत्पादनको लहर चलेको छ ।फाइल तस्बिर ः विप्लव/कान्तिपुर

(इलाम) - नयाँ झाङ, उब्जाउ जग्गा र उपयुक्त हावापानीका कारण इलामसहित मुलुकका विभिन्न जिल्लामा लगाइएको अर्गानिक (जैविक) अर्थोडक्स चियाको विश्व बजारमा सम्भावना उच्च छ । पछिल्लो सयम कृषकस्तरबाटै कारखाना सञ्चालन गर्दै तयारी चिया बनाएर देश विदेशमा बेच्ने प्रतिस्पर्धा नै चलेको छ ।
सुरुमा उत्पादन कम हुने र खर्चिलोसमेत हुने भएकाले रासायनिक मल र विषादी प्रयोग गर्ने कृषकलाई एक साथ अर्गानिक प्रणालीमा लैजान ठूलै चुनौती छ । अर्गानिक उत्पादनमा गएकाहरूलाई भने प्रमाणीकरण र नवीकरणको झन्झट हुने गरेको हो ।
तयारी चिया विदेश निर्यात गर्दा पहिलो सर्तका रूपमा रहेको अर्गानिक प्रमाणीकरणले भने यस्ता कारखाना सञ्चालकलाई टाउको दुखाइ भएको छ । कृषकले उत्पादनलाई पूर्ण रूपमा अर्गानिक बनाएर प्रशोधन गरे पनि प्रमाणीकरणको झमेलाले धेरै उद्योगले पश्चिमा बजारसम्म पुर्‍याउन सकेका छैनन् ।
इलाम नगरपालिका १ साँखेजुङमा रहेको ग्रिन हिल अर्थोडक्स टी इन्डस्ट्रीले अर्गानिक प्रमाणित गर्‍यो । डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा प्रमाणीकरण भए पनि दोस्रो वर्षदेखि आफैं नवीकरण गर्नुपरेपछि कारखानालाई धौधौ पर्‍यो । ‘प्रमाणीकरणकै क्रममा करिब ९ लाख खर्च भयो,’ कारखानाका सञ्चालक टंक दाहालले भने, ‘नवीकरण गर्न पनि उस्तै समस्या र रकम चाहिने भएकाले अन्योल थपिएको छ ।’
उन्नतिको सहयोगमा एक दर्जन धेरै कारखानाले पहिलो पटक प्रमाणीकरण गरे । तर, दोस्रो वर्षदेखि नवीकरणमा सबैलाई समस्या छ । ठूला उद्योगहरूले राम्रो मूल्य नदिएको भन्दै आफैं साना उद्योग खोलेर प्रशोधन थालेका किसानहरूले पहुँच र पर्याप्त आर्थिक स्रोत जुटाउन नसक्दा चियाको अर्गानिक प्रमाणीकरण गर्न नसकेको गुनासो गर्ने गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग राम्रो छ । अर्गानिक प्रमाणीकरण नभएको चिया आन्तरिक र भारतको बजारमा मात्र निर्यात हुन्छ । अर्गानिक प्रमाणीकरणका लागि विश्वनीय अन्तर्राष्ट्रिय निकायबाट प्रमाणित हुनुपर्छ ।
नेपालमा जैविक चियाको प्रमाणीकरण गरेर प्रमाणपत्र दिने निकाय छैन । नेपालभित्र चियामा रासायनिक पदार्थको मात्रा जाँच्ने प्रयोगशाला पनि छैन । विदेशी निकायसँग प्रमाणीकरणका लागि सम्पर्क र सम्बन्ध विस्तार गर्न पनि पहुँच नपुग्ने किसानहरूले बताएका छन् ।
जर्मन टी काउन्सिल र युरोपियन टी कमिटीले सन् २००५ मा खाद्य पदार्थको रहल अवशेषको नयाँ मापदण्ड तयार गरेपछि रासायनिक पदार्थ मिसिएको चिया तेस्रो मुलुकमा निकासी हुन छाडेको छ । त्यसअघि काउन्सिल र कमिटीमार्फत नै नेपाली अर्थोडक्स चिया युरोप र अमेरिका जाने गर्दथ्यो । किसानहरूले अन्तर्राष्ट्रिय बजारलाई नै लक्षित गरेर जैविक चिया तयार गरिरहेका छन् । ठूला उद्योगले चियापत्तीमा कम मूल्य दिन थालेपछि इलामको जितपुर, साँखेजुङ, कन्यामलगायत सबै क्षेत्रमा निजी र सहकारीको माध्यमबाट कारखाना सञ्चालित छन् ।
इलाममा १ सयभन्दा धेरैको संख्यामा साना र मझौला कारखानाले चिया प्रशोधन गरिरहेका छन् । यस्ता उद्योगमा किसानले ५ लाखदेखि ५० लाख रुपैयाँसम्म लगानी गरेका छन् । किसानहरूले ड्रायर, रोलिङ मेसिनहरू आफैं परिमार्जन गरेर घरेलु उद्योग खोलेका हुन् । किसानहरूले प्रमाणीकरणको प्रक्रिया अघि बढाउनका लागि सरकारी ठोस पहलको पर्खाइमा कृषक छन् । उन्नति परियोजनाले कृषकसँगको साझेदारीमा आधुनिक भवन निर्माणदेखि मेसिन औजार खरिद गर्नेसम्ममा सघायो । इच्छुक कारखानालाई अर्गानिक प्रमाणीकरणका लागि पनि सहयोग गर्‍यो । तर, अहिले निरन्तरता दिन भने हम्मे परेको अधिकांश व्यवसायी बनेका कृषकको भनाइ छ ।
राष्ट्रिय चिया सहकारी संघका सचिवसमेत रहेका रविन राई सरकारी सहयोगबिना यो प्रक्रिया झन्झटिलो हुने बताउँछन् । ‘खर्च र मेहनत गरेअनुसार अन्तर्राष्ट्रिय बजारमा चिया पुर्‍याउन सक्दा ठीकै हुन्छ,’ उनले भने, ‘तर, नयाँ खुलेका कारखानाहरूलाई बाहिर पठाउन उति सहज छैन ।’
यहाँको चिया तेस्रो देश निर्यात गरेर डलर नभित्र्याए यथास्थितिमा लागतसमेत नउठ्ने निष्कर्षमा कृषक, उद्योगीलगायत सरोकारवाला सबै छन् । यसका लागि चाहिने न्यूनतम सर्त भनेको गुणस्तरीय उत्पादन हो । चियाको बजारलाई प्रवर्द्धनका लागि विषादीरहित अर्गानिक उत्पादनतर्फ कृषकको ध्यान पनि खिचिएको छ ।
कृषकबाट चिया खरिद गरेर उत्पादन गर्ने ठूला उद्योगलाई सबै हरियो चियापत्तीलाई अर्गानिक बनाउन कठिन छ । यस्ता कारखानाले सयौं कृषकबाट हरियो चियापत्ती खरिद गर्नुपर्ने भएकाले सबैलाई अर्गानिक बनाउन सक्दैनन् । यसअघि इलाम टी कारखानाले अन्तु र पञ्चकन्यामा प्रयास थाले पनि असफल भएको थियो ।
सूर्योदय नगरपालिका सुन्दरपानीको गोर्खा टी, इलाम नगरपालिका–१ साँखेजुङको हिमालयन सांग्रिलालगायत केही ठूला कारखानाले निकै ठूलो मेहनत गरेर अर्गानिक उत्पादन गर्ने गरेका छन् । बाँकी डेढ दर्जन धेरै ठूला चिया कारखानाले आफ्नो उत्पादनलाई अर्गानिकमा लैजान सकेका छैनन् ।
कृषकस्तरबाट खुलेका कारखानालाई अर्गानिक बनाउन सहज छ । थोरै कृषक आबद्ध हुने भएकाले नियमित निरीक्षण र विषादीको प्रयोगबिना नै उत्पादन गर्ने पनि उल्लेख्य छन् । तर, उनीहरूको चिन्ता भने कसरी अर्गानिक प्रमाणीकरण गर्ने र निरन्तरता दिने भन्ने हो ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थामा अर्गानिकसँगै हेसेफ प्रमाणीकरण हुन जरुरी छ । यहाँका कारखानाले नासा, आएमो, सेटेसलगायत संस्थामा अर्गानिक प्रमाणीकरण गराउने गरेका छन् । नेपालमा पनि केही सस्तो मूल्यमा अर्गानिक प्रमाणीकरण हुने भए पनि अन्तर्राष्ट्रिय मापदण्ड नहुने भएकाले बाहिरकै संस्थासँग गराउने बाध्यता छ ।
जिल्लामा अहिले सनाठूला गरी करिब डेढ सयको हाराहारीमा कारखाना खुलिसकेका छन् । यसमध्ये आफ्नै पहुँचले केहीले अर्गानिक सर्टिफिकेट लिएका छन् भने केहीलाई उन्नतिले सघाएको हो । बाँकी धेरै कारखानाको उत्पादन प्रमाणीकरण हुन सकेको छैन ।
चियालाई अर्गानिक बनाउन प्रमाणीकरण भएको अर्गानिक मलको पनि उत्तिकै महत्त्व छ । सरकारले मलमा अनुदान दिने सुनेको भए पनि अधिकांश कृषकले त्यो नपाएको गुनासो गरेका छन् ।
लगानी र श्रमअनुसार हरियो चियापत्तीको मूल्य नपाएको गुनासो गर्ने कृषक चियाको बजार विस्तार नभएसम्म नाफामा नजाने स्विकार्छन् । इलामसहितका पूर्वी पहाडी जिल्लामा वार्षिक ५५ लाख किलोको हारहारीमा तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । यसको मुस्किलले १० प्रतिशत आन्तरिक बजारमा खपत छ भने १० प्रतिशत भारतबाहेकका मुलुकमा निर्यात हुन्छ । करिब ८० प्रतिशत उत्पादनको बजार भारत हो ।
भारतमा पनि नेपालको चियालाई दार्जिलिङ र असमको भन्दा कम प्राथमिकता दिइने गरेको व्यवसायीहरू बताउँछन् । चिया निकासी गर्दा सीएफएलको प्रक्रिया थप झन्झटिलो भएको भन्दै भारतमुखी बजारले चियामा देखिएको बजारीकरणको समस्या नसुल्झने निश्चित भएको सरोकारवाला बताउँछन् । ‘पश्चिमा देशमा चिया निर्यात बढाउनुको विकल्प छैन,’ इलाम नगरपालिकाको जस्विरेमा आफैं उद्योग सञ्चालन गर्दै आएका शरद सुब्बाले भने, ‘अर्गानिक उत्पादन गर्नेदेखि प्रमाणीकरण र निर्यातसम्ममा सरकारी भूमिका आवश्यक छ ।’
घरेलु उद्योगले तयार गरेको अर्गानिक अर्थोडक्स चिया स्थानीय बजारमा लोकप्रिय छ । तर, सबै उत्पादन खपत हुँदैन । स्थानीय बजारमा पनि सस्तो मूल्यमा मात्र चिया बिक्ने हुँदा लागत उठाउनै कठिन हुने देउमाई नगपालिकाको सिद्धिथुम्कामा चिया उद्योग चलाउँदै आएका मित्रलाल सापकोटा बताउँछन् ।
यस्तो छ अर्गानिक प्रमाणीकरण
गर्ने प्रक्रिया
अर्गानिक प्रमाणीकरणका लागि विदेशी संस्थाकै भर पर्नुपर्छ । नासा, आईओएम र सेरेसजस्ता विदेशी संस्थामा पूर्ण अर्गानिक चिया बनाउने प्रतिबद्धता जनाउँदै निवेदन दिएपछि प्रक्रिया सुरु हुन्छ ।
यसपछि अर्गानिक मापदण्डअन्तर्गत रहेर रासायनिक मल, विषादीको प्रयोग बन्द गर्नुपर्छ । यसैलाई आचारसंहिता मान्दै स्थलगत रूपमा अनुगमन गर्दै प्रक्रिया अघि बढ्छ । ३ वर्षसम्म कृषकले समूह बनाएर नै एक अर्काको अनुगमन गर्ने र बेलाबेलामा
आउने संस्थाका प्रतिनिधिसहित परीक्षण भइरहन्छ ।
अन्त्यमा संस्थाबाट आउने अनुगमनकर्ता (इन्स्पेक्टर) ले चिया जैविक भए नभएको परीक्षण गर्छन् । यी इन्स्पेक्टरलाई आफ्नै खर्चमा ल्याउनुपर्छ । यसरी गरिएको अनुगमन र चेकजाँचपछि अर्गानिक ठहरिएको चिया प्रमाणित हुन्छ । एक पटक प्रमाणित भएर नपुग्ने र बर्सेनि नवीकरण गर्नुपर्ने भएकाले धेरै खर्चिलो र झन्झटिलो भएको हो । कृषकले समूह बनाएर अर्गानिक प्रक्रियामा जाने गरेका छन् ।
नवीकरण गर्न पनि माटोसहित उत्पादनको सबै स्याम्पोल पठाएर परीक्षण गराउनुपर्छ । प्रमाणीकरण गरिए जस्तै प्रक्रिया गर्नुपर्ने हुँदा मिहिनेत र खर्च उस्तै पुग्छ ।
सरकारी सुविधा लिन पनि समस्या
अर्गानिक सर्टिफाइड र नवीकरण गर्नका लागि सरकारले अनुदानको व्यवस्था गरेको छ । प्रक्रिया झन्झटिलो भएको भन्दै नयाँ उद्योगीले यो सेवा लिन सकेका छैनन् । कृषि मन्त्रालयमार्फत सहुलियत दिने प्रावधान छ । यसका लागि सम्बन्धित उद्योग या कृषकले प्रपोजल पेस गरेर प्रक्रियामा छिर्नुपर्छ । ‘यो व्यवस्थाले नयाँ उद्यमीलाई राहत नमिलेर पुराना र ठूला उद्योगहरूलाई मात्र फाइदा पुगेको पाएका छौं,’ रोङ गाउँपालिकास्थित कोल्बुङका अगुवा कृषक माधव निरौलाले भने, ‘अर्गानिक उत्पादन गर्ने कारखाना र कृषकको अनुगमन गरेर सोहीअनुसारको व्यवस्था गरिनुपर्छ ।’
चिया क्षेत्रको विकासका लागि कार्यरत चिया तथा कफी विकास बोर्डमार्फत नै यो सेवा पाउने अवसर हुने हो भने लक्षित उद्योग र कृषकले सुविधा पाउने बुझाइ छ ।

 

अर्थ वाणिज्य

धान उत्पादन घट्यो

- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– पर्याप्त धान उत्पादन हुने भनिएको नुवाकोटमा यो वर्ष उत्पादन घटेको छ । जिल्लाको समग्र धान उत्पादनको २ प्रतिशत घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्ष ६३ हजार ४ सय ७ टन धान उत्पादन भएको थियो । यो वर्ष १ हजार ४ सय १८ धान उत्पादन घटेको छ । केन्द्रका अनुसार यो वर्ष बर्खे धान ६१ हजार ९ सय ८९ टन उत्पादन भएको छ । जिल्लामा गत वर्ष १४ हजार ५ सय हेक्टरमा धान रोपिएकामा यो वर्ष १४ हजार २ सय ८२ हेक्टरमा लगाइएको छ । १ हजार रोपनीमा लगाइएको धानमा दाता नलागेको किसानरूले बताए । धेरै फल्ने भनेर लगाएको धानमा भुस मात्र फलेको तारकेश्वर–४ बुधसिङ चारघरेका किसान रमेशपुकार वस्तीले बताए ।
उनले साढे ३ रोपनीमा गरिमा हाइब्रिड धान लगाएका थिए । दाना नलागेपछि किसानहरू क्षतिपूर्ति माग गर्दै कृषि ज्ञान केन्द्र धाउन थालेका छन् । लिखु–५ थानसिङका किसान रामकृष्ण श्रेष्ठले गरिमा धानको पराल काम लागे पनि चामल भने किन्नुपर्ने अवस्था आएको बताए । नुवाकोटका फाँटहरू धानका लागि उर्बर क्षेत्र मानिन्छ । पछिल्लो समय रैथाने धानभन्दा हाइब्रिड धानले ७ हजार हेक्टर क्षेत्र ओगटेको छ । बेलकोट, मदानपुर, थानपती, चतुराले, कविलास, गणेशस्थान, खड्गभन्ज्याङ, थानसिङ, रालुका, शिखरबेंसी, रावतबेंसी, रामोती, बुढीसेरा, ढाँडे, नौबिसे, खानीगाउँ, चाउथे, कुमरी, चतुराले, चौघडा, समुद्रटार, थप्रेक, फुर्केसल्ला भद्रटारलगायत स्थान धानका पकेट क्षेत्र हुन् ।
जिल्लामा लगाइने उन्नत धानका जातमध्ये खुमल ४ र ११, राधा, यूस ३१२, मकवानपुर, सावित्री, हर्दिनाथ १, स्थानीय जातमा समुद्रफिजी, मार्सी बिरमफुल, भुन्टेमसिनो, तथा हाइब्रिड पीएससी, पीएचपीलगायत पर्छन् । धान उत्पादन घट्नुमा किसानले समयमा रोपाइँ गर्न लागि वर्षा नभएको, रासायनिक मलखादको अभाव र गरिमा धानको बीउका कारण उत्पादन घटेको केन्द्रका सूचना अधिकारी एवं कृषि अर्थविज्ञ विशाल ढकालले बताए ।

 

Page 13
अर्थ वाणिज्य

१० दिनसम्म ब्रोइलरका चल्ला उत्पादन नहुने

- रमेशकुमार पौडेल
नेपाल ह्याचारी उद्योग संघ केन्द्रीय समितिले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलन ।तस्बिर ः रमेशकुमार/कान्तिपुर

(चितवन) - मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला १० दिनसम्म उत्पादन नहुने भएको छ । चल्ला उत्पादन गर्ने उद्योगीहरूको संस्था नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिको आयोजनामा भरतपुरमा भएको भेलाले यो निर्णय गरेको हो ।
भरतपुरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष टीकाराम पोखरेलले मागभन्दा उत्पादन बढी भएको र मूल्य पनि नआएका कारण यस्तो निर्णय गरेको बताए ।
‘मंसिर २९ गतेदेखि १० दिनसम्म कुनै पनि
ह्याचरीले ब्रोइलर र कलर ब्रोइलर कुखुराका चल्ला उत्पादन नगर्ने निर्णय भएको छ,’ पोखरेलले भने । भेलामा देशभरबाट जम्मा भएका १५० जना उद्योगीहरूले एकमतले यो निर्णय गरेको उनले बताए । नेपालमा हाल प्रतिहप्ता ब्रोइलरका ४५ लाख र कलर ब्रोइलरका एक लाख ७० हजार चल्ला उत्पादन भइरहेको संघको तथ्यांक छ ।
चल्ला उत्पादन नगर्ने भनेका कारण
ह्याचरी मेसिनमा सेट गरिसकेका अण्डाहरू पनि शुक्रबारदेखि नै झिकेर नष्ट गरेको उनले दाबी गरे । १० दिनसम्म ६० लाख चल्ला उत्पादन हुने गर्दछ । यी चल्ला बजारमा जाने हो भने ३५ देखि ४० दिनपछि मासुका लागि कुखुरा तयार हुन्छन् । जसबाट १ करोड २० लाख केजी मासु उत्पादन हुने अध्यक्ष पोखरेलको भनाइ छ ।
‘नेपालमा प्रतिहप्ता ३० देखि ३२ लाख गोटा चल्ला उत्पादन भए माग र आपूर्ति मिल्छ । उत्पादन ४५ लाखभन्दा धेरै छ । त्यसैले चल्लाको मूल्य सस्तो भयो । बजारमा धेरै चल्ला गएका कारण किसानले उत्पादन गरेको कुखुराको मूल्य पनि आएन,’ पोखरेलले भने । ह्याचरीले अहिले प्रतिगोटा ३० रुपैयाँमा चल्ला बेचेको छ । उत्पादन लागत नै ५० देखि ५५ रुपैयाँसम्म पर्ने उनले बताए ।
त्यसैगरी तयारी कुखुराको मूल्य किसानले प्रतिकेजी १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पाएका छन् । उत्पादन लागत प्रतिकेजी १९०
रुपैयाँसम्म पर्ने नेपाल कुखुरापालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनकप्रसाद पौडेलले बताए । त्यसैले व्यवसायीले उचित मूल्य पाएका छैनन् । उपभोक्ताले मासुमा मनग्गे खर्च
गरेका छन् ।
ह्याचरीले १० दिन चल्ला उत्पादन रोक्दा लगभग दुई महिनापछि मासुको माग र कुखुराको संख्या मिल्न आउने आशाले यो निर्णय गरेको
ह्याचरी उद्योग संघका अध्यक्ष पोखरेलले बताए । ‘नौ महिनादेखि ह्याचरी उद्योगले घाटामा चल्ला बेचेका छन् । किसानलाई पनि फाइदा भएन । १० दिन रोक्दा बजारमा माग र आपूर्तिको सन्तुलन मिल्ने आशामा यो निर्णय गरेको हो,’ पोखरेलले भने ।
तत्कालका लागि यो उपाय ल्याए पनि समस्याको दीर्घकालीन समाधानका लागि नेपालमा मासु खपतको अवस्था हेरेर चल्ला उत्पादनको अनुमति दिनुपर्ने व्यवस्था हुनुपर्ने उनले बताए । ‘विदेशका धेरै देशहरूमा मासु खपतको अवस्था हेरेर चल्ला उत्पादनको प्रबन्ध मिलाउने गरेको छ,’ उनले भने । कुखुरापालन क्षेत्रमा मौलाएको बिचौलिया प्रवृत्ति र दानाको मूल्य बढेका कारण किसान र
ह्याचरी उद्योगीहरू मारमा परेको उनको भनाइ छ ।
बिचौलियाको हालीमुहाली रोक्न सहकारीमार्फत बिक्री गर्ने योजना बनाउँदै छौं । कुखुरापालन क्षेत्रमा दानाको हिस्सा ८० प्रतिशत हुन्छ । अधिकांश दानाको कच्चा पदार्थ भारतबाट आउँछ । पहिला भन्सार नलाग्ने कच्चा पदार्थमा अहिले कर लाग्छ,’ अध्यक्ष पोखरेलले भने । यसको असर व्यवसायमा परेको छ । झन्डै सवा खर्ब रुपैयाँ लगानी भएको कुखुरापालन क्षेत्रलाई जोगाउन बेलैमा सरकारले सोच्नुपर्ने उनको आग्रह छ ।

Page 14
समाचार

अपांगता भएकालाई जागिर मुस्किल

- विद्या राई

(काठमाडौं) - कास्कीको रूपा गाउँपालिका—५ का ३३ वर्षीय धनबहादुर श्रेष्ठलाई शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर नियुक्ति पाउन ६ महिना लाग्यो । माध्यमिक तहमा नेपाली विषयमा उत्तीर्ण उनले ढिला नियुक्ति पाउनुको लामै कथा छ ।
जेठ १३ मा अन्तर्वार्ता उत्तीर्ण गरेपछि उनलाई शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कास्कीले कात्तिक १७ मा रूपा गाउँपालिकास्थित विश्वशान्ति माध्यमिक विद्यालयमा खटायो । घरबाट पैदल दूरी २ घण्टा लाग्ने विद्यालयमा खटाए पनि उनी खुसी भए । पत्नी सिर्जनासँग शिक्षा कार्यालयको पत्र बोकेर उनी रूपा गाउँपालिका कार्यालय पुगे । तर पालिकाले उनलाई हाजिर नगराउने भन्दै फर्काइदियो । कारण थियो– धनबहादुरको श्रवणशक्ति नहुनु । जबकि उनले शिक्षक सेवा आयोगमा फरक क्षमता भएको कोटाबाटै नाम निकालेका थिए । वैशाख २० गते भएको लिखित परीक्षाको रिजल्टमा भने उनी खुला कोटामा पनि पास भएका थिए ।
आयोगको परीक्षा पास गर्नुअघि धनबहादुर गोरखाको बहिरा आवासीय माविमा पढाउँथे । आयोगमा नाम निस्किएपछि नियुक्तिका लागि जिल्ला छान्नुपर्ने भयो । पढाउँदै गरेको गोरखाकै आवासीय माविलाई रोजे । काम गर्दै गरेको ठाउँमा सहज हुने हिसाबले । तर नियुक्ति लिन ढिला भएपछि त्यहाँ पाएनन् । गोरखाको शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले जौबारीस्थित परम्परा माविका पठाउने आश्वासन दिए । त्यहाँ पनि मिलेन । गोरखामा उनलाई नियुक्ति दिन असम्भव हुने देखाउँदै इकाई प्रमुखले कास्कीका लागि प्रयास गर्न आग्रह गरे ।
धनबहादुर पत्नी सुजनालाई साथ लिएर काठमाडौंस्थित शिक्षा मन्त्रालय र शिक्षा विभाग आइपुगे । असोज १२ मा जिल्लाभित्र नियुक्ति दिलाउन शिक्षा विभागले कास्कीको शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेखिदियो । यसका लागि मन्त्रालय र विभागमा चार पटकसम्म धाउनुपरेको थियो ।
कास्कीका इकाई प्रमुख नारायणप्रसाद सुवेदीले शिक्षा विभागको पत्र त बुझे । दसैंपछि मात्रै काम हुने भनेर घर फर्काए । धनबहादुर र सिर्जना कोजाग्रत पूर्णिमाको पर्सिपल्ट इकाई प्रमुख सुवेदी भेट्न पुगे । उनले विद्यालयमा दरबन्दी खोज्न, बैठक बसेर टुंगो लगाउन समय लाग्ने भएकाले एक साता कुर्न लगाए । एक सातापछि पुग्दा काम भएकै थिएन । तिहार लागिसकेको थियो । सुवेदीले तिहार पछिमात्रै काम हुने भनेर फर्काए । फेरि कात्तिक १७ गते शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पुगे । इकाई प्रमुख सुवेदीले रूपा गाउँपालिकाको विश्वशान्ति माविमा खटाए । त्यहाँ विज्ञान विषयको दरबन्दी खाली थियो । त्यहाँ एक साता हाजिर गराएर अन्यत्रै सरुवा गरिदिने सुवेदीले आश्वासन दिएका थिए । तर गाउँपालिकाले पत्र बुझ्नै मानेन । गाउँपालिका अध्यक्ष नवराज ओझाले दरबन्दी नभएकाले पत्र नबुझेको दाबी गरे ।
समन्वय कार्यालय पुगेर धनबहादुर र सुजनाले सुवेदीलाई सुनाए । सुवेदीले फेरि आश्वासन दिए, ‘दिन दिनै धाउनु, मान्छेको मन हो पग्लिन्छ, पत्र बुझ्लान् ।’ कान्तिपुरसित सुजनाले सुनाइन्, ‘दुई घण्टा हिँडेर हप्तौं धायौं, गाउँपालिकाको मन पग्लेन,’ उनले थपिन्, ‘गाउँपालिकाले के कारणले पत्र बुझ्न मिल्दैन भनेर आधिकारिक चिठी दिनुभन्दा पनि मानेन ।’
धनबहादुर र सुजना फेरि शिक्षा कार्यालय पुगे । एक महिनापछि गत बुधबार १८ गते शिक्षा अधिकारीले अन्नपूर्ण गाउँपालिका, चन्द्रकोट लुम्लेको संगम माविका लागि पत्र लेखिदिए । गत २३ गते सामाजिक विषयको दरबन्दीमा अन्नपूर्ण गाउँपालिकाले नियुक्ति दियो । त्यहाँको नियुक्ति लिएका उनलाई शिक्षा समन्वय इकाईले बहिरा विद्यार्थी पढाउने सिर्जना माविमा काज खटाएको छ । त्यहाँ पढाउन पुग्नलाई रूपाकोट घरबाट गाडीमा तीन घण्टा लाग्छ । यस कारण पोखराको सिर्जनाचोकमा कोठा लिएर बस्ने तयारीमा छन् उनी । ‘सँगै नाम निकालेकाले पढाउँदै छन्, तलब बुझ्दै छन्, मेरो बल्लतल्ल टुगों लाग्यो,’ धनबहादुरले भने, ‘यो पनि निकै कष्ट गरेर पाइयो ।’
इकाईले नियुक्ति दिए पनि विद्यालयमा हाजिर गराउन विषय मिल्ने दरबन्दी कास्कीमा नपाइएकाले ढिला भएको इकाई प्रमुख सुवेदीले बताए ।
धनबहादुर एक पात्र हुन्, जसले अपांगता भएकै कारण सरकारी सेवामा नियुक्ति पाउन कष्ट व्यहोर्नुपर्‍यो । अपांगता भएका व्यक्तिहरूका लागि मैत्रीपूर्ण व्यवस्था नहुँदा धनबहादुरजस्ता धेरैका लागि सरकारी जागिर फलामको च्युरासरह भइरहेको राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकालले बताइन् । ‘अपांगता भएकाले पढाउनै सक्दैनन् भन्ने सोचाइ बोकेर नियुक्ति नदिने जनप्रतिनिधि, बुद्धिजीवी, नागरिक समाजलाई सरकारले खोइ त कारबाही गरेको ?’ उनले भनिन् । निजामती सेवा ऐन, ०४९ ले त अपांगता भएकालाई ५ प्रतिशत आरक्षणको व्यवस्था नै गरेको छ । तर के कति अपांगता भएका व्यक्तिले सरकारी सेवा र निजी क्षेत्रमा काम गरिरहेका छन् भन्नेबारे आधिकारिक तथ्यांक नभएको राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले बताए । उनले भने, ‘त्यो तथ्यांक न हामीसँग छ, न सरकारसँग छ ।’
सरकारी सेवामा आरक्षण व्यवस्था भए पनि सरकारी संयन्त्र नै अपांगताका लागि अनुकूल नहुँदा समस्या खेप्नुपरिरहेको उनले बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अपांगता अधिकार प्रवर्द्धन शाखाका उपसचिव पशुपति महतले पनि मन्त्रालयसँग आधिकारिक तथ्यांक नरहेको बताए ।

Page 15
खेलकुद

विभिन्न ठाउँमा पदकधारीको सम्मान

सुमेरुमा तेक्वान्दो सम्मानित
- कान्तिपुर संवाददाता
१३ औं सागमा सर्वाधिक पदक जितेको तेक्वान्दो टोली शनिबार सुमेरु अस्पतालको सम्मान थापेपछि । (तल क्रमशः) ललितपुरका कराते खेलाडी ललितपुर कराते महासंघबाट सम्मान थाप्दै । सम्मानित साइक्लिङका स्वर्णधारी बुद्धिबहादुर तामाङ र मध्यपुर थिमि नगरपालिकाबाट सम्मान थाप्दै करातेको मन्देकाजी श्रेष्ठ । तस्बिर ः अंगद ढकाल, लीला श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक सफलता हात पारेको तेक्वान्दो टोली शनिबार सम्मानित भएको छ । नेपाल तेक्वान्दो संघले नेपाली तेक्वान्दो खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मानित गरेको हो ।
मंगलबार सम्पन्न सागमा तेक्वान्दोले २९ मध्ये १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो । तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले आफ्नो व्यापारिक संस्था सुमेरु ग्रुपबाट १० लाख ३० हजार रुपैयाँ तथा अन्य सुविधा प्रदान गरेका हुन् ।
१३ औं सागमा तेक्वान्दोबाट स्वर्ण जित्नेमा पुम्सेतर्फ सिना मादेन लिम्बु, कमल श्रेष्ठ, पार्वती गुरुङ, आयशा शाक्य, युगल ३० वर्षमाथि सन्जिवकुमार ओझा र आयशा शाक्य, टिम महिला २३ वर्षमाथि नीता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई, टिम महिला १८–२३ वर्षमा सन्जिला तिमल्सिना, निशा दर्नाल, स्वस्तिका तामाङ तथा ग्यारोगीमा काजल श्रेष्ठ, संगीता बस्याल, वीरबहादुर महरा, भूपेन श्रेष्ठ र सक्षम कार्कीले स्वर्ण जितेका थिए ।
कार्यक्रममा स्वर्ण जित्ने एकलतर्फलाई ५० हजार, जोडीलाई २५ हजार र टिमलाई २० हजार रुपैयाँ प्रदान गरिएको थियो । रजत जित्नेलाई २५ हजार तथा कांस्यतर्फ व्यक्तिगत विजेतालाई १५ हजार, जोडीलाई २० हजार र टिमलाई २० हजार प्रदा गरियो । तेक्वान्दो टिमका व्यवस्थापकलाई १५ हजार, मुख्य प्रशिक्षकलाई २० हजार र प्रशिक्षकलाई १५ हजारबाट सम्मानित गरियो ।
महजर्नले सोही कार्यक्रममा तेक्वान्दोतर्फ दुई स्वर्ण पदक विजेता आयशालाई सुमेरुको ब्रान्ड एम्बासडर बनाउने घोषणा गरे । साथै पदक विजेता खेलाडीलाई सुमेरु अस्पतालबाट ५० प्रतिशत र अन्य तेक्वान्दो खेलाडीलाई २० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । उनले १३ औं सागमा नेपालबाट सर्वाधिक पदक जितेको खेलाडीलाई सम्मान गर्नु आफूहरूको दायित्व भएको जनाए ।
तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र सह–महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, तेक्वान्दोका उपाध्यक्ष भरत महर्जनले खेलाडीलाई सम्मानित गरे ।
ललितपुरका कराते खेलाडी सम्मानित
दक्षिण एसियाली खेलकुद (साग) मा करातेतर्फ नेपालबाट पदक जित्ने ललितपुरका खेलाडी र जिताउने प्रशिक्षक शनिबार सम्मानित भएका छन् । सागमा रेफ्रीको भूमिकामा रहेका ललितपुरका प्रतिनिधिलाई पनि सम्मान गरिएको छ ।
सागमा करातेतर्फ ललितपुरका खेलाडीमा विप्लवलाल श्रेष्ठले स्वर्ण, दिवस श्रेष्ठले रजत, मुकुन्द्र महर्जन र विनोद शाक्यले कांस्य पदक जितेका थिए । स्वर्ण जित्नेलाई २५ हजार, रजत जित्नेलाई १५ हजार र कांस्य पदक जित्नेलाई जनही १० हजार प्रदान गरिएको थियो ।
१३ औं सागमा कातातर्फ नेपालका प्रशिक्षक रहेका गोपाल महर्जन र गंगाराम महर्जन तथा कुमितेतर्फका दीपक श्रेष्ठलाई समान १५ हजार प्रदान गरिएको थियो । १३ औं सागमा रेफ्रीको भूमिकामा रहेका महेश रन्जित र राजेन्द्र कपालीलाई जनही १० हजार प्रदान गरिएको थियो । सबै ललितपुरका बासिन्दा हुन् ।
पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह, ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष एवं नेपाल कराते महासंघका कोषाध्यक्ष सानुलाल श्रेष्ठ, महासचिव हरिशरण केसी, सहमहासचिव ओमकृष्ण प्रसार्इं र महासंघका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनलगायतले पदक विजेता खेलाडी, प्रशिक्षक र रेफ्रीलाई पुरस्कृत गरे ।
परिषद्का पूर्व कोषाध्यक्ष महर्जनले प्रधानमन्त्रीले घोषणा गरेको प्याकेजले खुसी ल्याए पनि खेलाडीलाई त्यतिले नपुग्ने जनाए । उनले साग झारो टार्ने र बजेट कुम्ल्याउने हिसाबले सम्पन्न गरेको आरोप लगाउँदै भने, ‘अरिंगालको जमातले साग आयोजना गरेको थियो । प्राविधिक हिसाबले महत्वपूर्ण व्यक्तिलाई पनि पार्टीगत नजरले हेरेर जिम्मेवारी दिइएन । यो राम्रो होइन ।’
स्वर्णधारी बुद्धिबहादुरको सम्मान
गोंगबुस्थित युरो किड्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई शनिबार सम्मान गरेको छ । किड्सले वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगद १० हजारसहित सम्मान गरेको हो । बुद्धिले पुरुष क्रसकन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए । साइक्लिङमा नेपालले ४ स्वर्ण जितेको थियो । बुद्धिले १२ औं सागमा पनि सहभागिता जनाएका थिए । त्यतिबेला रोड रेसमा उनी समग्रमा चौथो भएका थिए ।
युरोका अध्यक्ष प्रमोद पाण्डेलगायतले बुद्धिलाई प्रशंसापत्र र नगद प्रदान गरे ।
मन्देकाजीलाई मध्यपुरबाट साढे ५ लाख
भक्तपुर (कास)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकाले शनिबार नागरिक अभिनन्दनसहित नगर परिक्रमा गराएर सम्मान गरेको छ ।
करातेको कातातर्फ एकल र टिम कातामा स्वर्ण जितेका मन्देकाजीलाई मध्यपुर थिमि नगरपालिकाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको हो । नगरप्रमुख मदनसुन्दर श्रेठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, वडाध्यक्षलगायत जनप्रतिनिधि, स्थानीय बासिन्दाले परम्परागत बाजागाजासहित बोडे, नगदेश हुँदै बालकुमारी पुर्‍याएर सम्मान गरेको छ ।
नगरप्रमुख श्रेष्ठले खेलाडीको हौसला बढाउन र खेल क्षेत्रबाट विश्वसामु नेपालको शीर उच्च राख्न सफल खेलाडीलाई हौसला प्रदान गर्न सके खेलाडीले प्रगति गर्ने बताए ।
मन्देकाजीले प्राप्त गरेका विभिन्न पदकलाई सुरक्षित राख्नका लागि नगरपालिकाले दराजसमेत प्रदान गर्ने नगरप्रमुखले घोषणा गरे । ‘विगत जस्तो छैन, अब खेल क्षेत्रमा लागेर जीवन निर्वाह गर्न सकिन्छ,’ उनले भने ।
स्वर्ण विजेता मन्देकाजीले खेल क्षेत्रमा विभिन्न किसिमका दुःखकष्ट गर्नुपरेता पनि त्यसको प्रतिफल ढिलै भए पनि प्राप्त भएकोमा खुसी लागेको बताए ।

खेलकुद

दुहबी र धरान फाइनलमा

- कान्तिपुर संवाददाता

(धनकुटा) - हिलेमा जारी प्रथम धनकुटा गोल्डकप फुटबलमा दुहबी फुटबल क्लब सुनसरी र रोयल धरान फुटबल फ्रेन्डस क्लब फाइनलमा पुगेका छन् । शनिबार सेमिफाइनलमा दुहबी फुटबल क्लबले रोयल स्पोर्टिङ क्लब झापालाई २–१ ले पराजित गरेको हो । विजेताका लागि ४२ औ मिनेटमा भिखन चौधरीले पहिलो गोल गरे । लगत्तै झापाका सन्जिव बुढाथोकीले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । पुनः सुनसरीको सिसम चौधरीले ५९ औं मिनेटमा गोल थपेर आफ्नो टिमलाई विजयी बनाए ।
रोयल धरानले युनाइटेड युथ क्लब इलामलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । खेलको २० औं मिनेटमा अभिषेक तामाङले पहिलो गोल गरे । ५७ औं मिनेटमा विनोद राईले गोल थपे । फाइनल सोमबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

खेलकुद

कौस्तुभलाई फेका कप

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कौस्तुभ एकेडेमीले चौधौं फेका कप अन्तरस्कुल छात्र फुटबलको उपाधि जितेको छ । पेप्सीकोला टाउन प्लानिङको मैदानमा शनिबार भएको फाइनलमा कौस्तुभले करियरलाई ५–० ले पराजित गर्दै गत वर्ष भोगेको हारको बदला लियो । कौस्तुभका विवश मगरले २, राम खड्गी, कृश बुढाथोकी र रविन बमले १–१ गोल गरे । कौस्तुभले ३० हजार र करियरले २० हजार पुरस्कार हात पारे । तेस्रो भएको गेट्वे एकेडेमीले १० हजार र चौथो कस्मिकले ५ हजार रुपैयाँ पुरस्कार पाए । कौस्तुभका लक्ष्मण गुरुङ उत्कृष्ट खेलाडी, कौस्तुभकै विवश मगर सर्वाधिक गोलकर्ता (५ गोल), करियरका लक्ष्मण शाही उदीयमान खेलाडी, करियरकै साहिल बस्नेत उत्कृष्ट मिडफिल्डर, कौस्तुभका दीपेश थापा उत्कृष्ट गोलरक्षक, करियरका सुजन भट्टराई उत्कृष्ट डिफेन्डर र कौस्तुभका रविन पौडेल उत्कृष्ट प्रशिक्षक घोषित भए ।

खेलकुद

टेटेमा आरुणी च्याम्पियन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– तेस्रो एन प्याब्सन खेलकुद सप्ताहअन्तर्गत टेबलटेनिसमा आरुणी स्कुल टिम च्याम्पियन बनेको छ । आरुणी १९ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्यो । ११ अंकसहित ग्रिनफिल्ड नेसनल स्कुल दोस्रो तथा ९ अंकसहित कान्तिपुर इङ्लिस एकेडेमी तेस्रो भए । विभिन्न २८ विद्यालयका ३ सय प्रतिस्पर्धीले भाग लिएका थिए । खेलकुद सप्ताह पुस १ मा टुँडिखेलमा हुने शनिबार पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष विष्णु पराजुलीले जानकारी गराए । टेबलटेनिसबाहेक खेल सप्ताहमा ब्याडमिन्टन, छात्र क्रिकेट, छात्रा फुटसल र सिनियर छात्र बास्केटबलमा प्रतिस्पर्धा हुनेछ । प्रोग्रेसिभमा हुने ब्याडमिन्टनमा २ सय खेलाडी, टुँडिखेलमा हुने क्रिकेटमा ५० टिम, सिनामंगलस्थित ब्रिजवाटर स्कुलमा हुने फुटसलमा ६४ टिम तथा धुम्बाराहीस्थित युनिभर्सलमा हुने बास्केटबलमा ५० टिमले भाग लिने काठमाडौं एन प्याब्सनका प्रचार विभाग प्रमुख गेन्द्र लामाले बताए ।

खेलकुद

शीतलपाटी विजयी

- कान्तिपुर संवाददाता

संखुवासभा (कास)– चौथो पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि शीतलपाटी फुटबल क्लबले जितेको छ । आयोजक लोहोरुङ र शीतलपाटी फुटबल क्लबबीचको खेल बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा ५–४ गोल गर्दै शीतलपाटीले उपाधि जितेको हो । विजेताले १ लाख १५ हजार र उपविजेता लोहरूङले ५५ हजार रुपैयाँ पुरस्कार पाए । नयाँबजार युथ र मकालु फ्रेन्डस क्लब तेस्रो भए । खाँदबारी–४ पाङमामा रहेको भगिवन्त रंगशालामा किराँत पर्व उधौलीका अवसरमा आयोजित प्रतियोगितामा १३ टिम सहभागी थिए ।

Page 16
खेलकुद

पहिलो खेलको सकस

सहिद स्मारक लिग
- विनोद पाण्डे
सहिद स्मारक लिग फुटबलको पहिलो दिन शनिबार बलका लागि अघि बढ्दै मछिन्द्र क्लबका दीपक राई (सेतो) र ब्रिगेड ब्वाइजका अजय गुरुङ । तस्बिर ः केशव थापा/कान्तिपुर

(काठमाडौं) - पहिलो खेलमै लय मिलाउनु कुनै पनि टोलीका लागि सहज हुँदैन । शनिबार सुरु कतार एयर सहिद स्मारक लिग फुटबलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई त्यस्तै भयो । एउटा उपाधिको दाबेदार र अर्को राम्रो स्थान हात पार्न संघर्षरत टोली ।
मछिन्द्रले एन्फा कम्प्लेक्स सातदोबाटोमा २–० को जित हात पार्‍यो । उपाधि जित्ने लक्ष्य बनाएको मछिन्द्रलाई पहिलो खेलले सन्तुष्टि दिलाएन । खेलमा खासै ठूलो अपेक्षा नगरेको बीबीसी पनि सन्तुष्ट हुन सकेन् ।
‘विपक्षी जस्तै भए पनि पहिलो खेलमा गाह्रो हुन्छ, प्रत्येक खेलसँगै टिम लयमा आउँछ,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘उपाधि दाबेदार पनि भएकाले हामीमाथि दबाब थियो । जसरी हुन्छ ३ अंक चाहिएको थियो । त्यो पूरा भयो । अन्तिम १० मिनेट उनीहरूले दबाब बनाउँदा हाम्रो फिटनेसमा गाह्रो देखियो ।’
फुटबलमा एक जितको ३ अंक छ । तर अंकतालिकामा मछिन्द्रको २ अंकमात्र हुनेछ । गत वर्ष रेलिगेसन नराखिएको लिगमा मछिन्द्र पुछारबाट दोस्रो भएको थियो । न्युरोड टिम पुछारमा थियो । सोही कारण यस लिगबाट न्युरोडले पाएको अंकबाट २ र मछिन्द्रले पाएको अंकबाट एक अंक काटिने छ ।
योगेश गुरुङ र दीपक राईले दुवै हाफमा गरेको गोलमा मछिन्द्रले जित पायो । योगेशले ३० औं मिनेटमा गोलको खाता खोलेका थिए । विशाल राईको फ्रिकिक प्रहार बीबीसीका गोलरक्षक विशाल सुनारले पञ्च गरे पनि पोस्टमा लागेर फर्किएपछि त्यसमा योगेशले हेडमा गोल गरेका थिए । यसअघि १८ औं मिनेटमा रन्जित धिमालेको फ्रिकिक प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
खेलमा अत्यधिक दबाब बनाएको मछिन्द्रबाट ५० औं मिनेटमा दीपकले दोस्रो गोल गरेको रन्जितले दिएको पासमा दीपकले पेनाल्टी बक्सभित्र सानदार स्किल देखाउँदै गोल गरेका थिए । मछिन्द्रले यस सिजनका लागि अभिषेक रिजाल, विजय धिमाल, विराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, बुद्ध चेम्जोङ, देवेन्द्र तामाङ, दीपक राई, हेमन गुरुङ, रेजिन सुब्बा, रन्जित धिमाल, सुजल श्रेष्ठ, योगेश गुरुङ जस्ता खेलाडी अनुबन्धन गरेकाले टोलीलाई उपाधिको दाबेदारमा हेरिएको छ ।
१३ औं सागको फुटबलमा भुटानसँगको फाइनलमा चोट बोकेका सुजल खेलेका थिएनन् । उनले अझै दुई साता खेल्ने छैनन् । श्रमस्वीकृति नभएकाले दुवै टोलीले विदेशी खेलाडी खेलाएका थिएनन् । मछिन्द्रका प्रशिक्षक कटुवालले बुधबारसम्म आफ्ना विदेशी खेलाडीको श्रमस्वीकृति आइसक्ने विश्वास लिए ।
नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडीद्वय अनिल गुरुङ र विजय गुरुङलाई समेट्दै बीबीसीले अनुभवी टोली बनाउन खोजेको छ । अनिलले ७५ औं मिनेटमा गोल गर्ने राम्रो अवसर पाएका थिए । ८७ औं मिनेटमा जय गुरुङले २५ यार्ड टाढाबाट गरेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए ।
‘जसरी खेलाडीहरूले खेले, त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु ।
किनभने मछिन्द्र उपाधि दाबेदार क्लब हो,’ बीबीसीका प्रशिक्षक खगेन्द्र पुनले भने, ‘एक गोल फर्काउन सकेको भए खेलमा परिवर्तन आउनसक्थ्यो । पहिलो खेल भएकाले हाम्रो टोलीमा केही तालमेल मिलेको थिएन ।’

दुई महिनापछि विशाल
नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर दुई महिनापछि मैदानमा फर्किएका छन् । असोजको अन्तिममा अस्ट्रेलियासँग क्यानबेरामा भएको विश्वकप छनोट खेलमा उनलाई खुट्टामा चोट लागेको थियो । उनी अस्ट्रेलियाबाट नेपाली टोलीसँगै जोर्डन फर्किए पनि जोर्डनसँगको विश्वकप छनोट खेल्न पाएका थिएनन् । चोटकै कारण उनले अघिल्लो ाहिना भुटानमा भएको कुवेतसँगको विश्वकप छनोट खेल पनि गुमाएका थिए ।
अस्ट्रेलियापछि उनी शनिबार पहिलो पटक मैदानमा उत्रिएका हुन् । मछिन्द्रलाई पहिलो खेलमा विजय दिलाउँदा उनी म्यान अफ द म्याचमा चुनिए । उनले पूरै ९० मिनेट खेलेका थिए । ‘टिमले जित हात पारेको छ, त्यो महत्त्वपूर्ण हो । विभिन्न क्लबका खेलाडी आएर मछिन्द्रको टिम बनेको छ, अझै सेट भइसकेको छैन,’ विशालले भने, ‘दुई महिनापछि फिट भएर आएर खेले । मैले आफूलाई फिट नै पाएँ ।’

खेलकुद

जापान जाने टोली एन्फाले छनोट गर्ने

यू–१२ जापान लैजाने सम्बन्धमा शनिबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एनपीओका अध्यक्ष वसन्त गौचन सम्झौतापत्र आदानप्रदान गर्दै ।
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– जापानमा हुने यू–१२ टोली अन्तर्राष्ट्रिय कोपा टोरे प्रतियोगितामा यसपालि अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट गरेको टोली जाने भएको छ । चार वर्षदेखि नेपाली टोली सहभागी हुँदै आएको छ ।
यस विषयमा एन्फाले शनिबार पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनको नेतृत्वमा जापानमा स्थापना गरिएको नेपाल युथ सकर प्रोजेक्ट (एनपीओ) सँग सम्झौता गरेको छ ।
जापानको टोकियोमा हुने प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाउँदै आएको थियो । जापानमा फुटबल प्रशिक्षकको रूपमा कार्य गर्दै आएका गौचनको नेतृत्वमा पोखरामा छनोट प्रतियोगिता गरी सन् २०१६ देखि प्रतियोगितामा नेपालले खेल्दै आएको थियो । अब एन्फाले यो सबै जिम्मेवारी लिने भएको हो ।
‘अब एन्फाले यसको देशव्यापी छनोट प्रतियोगिता गर्छ । सबै प्रदेशबाट छानिएर आएका खेलाडीलाई केन्द्रमा छनोट गरेर नेपाल यू–१२ टोली जापानमा खेल्न पठाइने छ,’ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘१२ वर्षका खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै जाने भएकाले यसलाई ऐतिहासिक रूपमा लिनुपर्छ । यस अवसरका लागि हामी वसन्त गौचनलाई धन्यवाद दिन्छौं । छनोटमा खेल्ने खेलाडीको सबै खर्च एन्फाले बेहोर्ने छ ।’
एन्फा अध्यक्ष शेर्पा र एनपीओका अध्यक्ष गौचनले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता दुई वर्षको छ । सम्झौताअनुसार एनपीओ र जापानको प्रतियोगिताको आयोजक फन रुट्सले नेपाली टोलीको आतेजाते खर्च र जापान बसाइको प्रबन्ध गर्नेछ । गौचन फन रुट्सका अध्यक्ष पनि हुन् । नेपालमा तयारी र लाग्ने खर्च एन्फाले बेहोर्ने छ ।
युवा खेलाडीका लागि यो ठूलो मौका रहेको जनाउँदै गौचनले नेपाल र जापानको फुटबल जोड्ने आफ्नो प्रयास रहेको बताए । मार्चको अन्तिम साता अन्तर्राष्ट्रिय यू–१२ कोपा टोरे आयोजना हुनेछ । नेपाली टोली एक साताअघि नै जानेछ र केही मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसैक्रममा च्यारिटी डिनर गरी सहयोग संकलन गरिनेछ । प्रतियोगितामा नेपालले आफ्नो समूहको टिमसँग खेल्नुपर्नेछ । नेपाली टोलीको जापान जाँदाको कुल खर्च १५ लाख रुपैयाँ रहने जनाइएको छ ।
अन्तर्राष्ट्रिय यू–१२ कोपा टोरे विश्वको ठूलो महत्त्वाकांक्षी युवा प्रतियोगिता हो । यसमा फ्रान्सको पीएसजी, मार्से, स्पेनको एट्लेटिको म्याड्रिड, जर्मनीको बोरुसिया डर्टमन्ड, ब्राजिलको पालमेरोज, जे लिगको उरावा रेड्स, कासिमा अन्तरान्स, योकोहामा मारिनोज, ग्राम्पससहित अस्ट्रेलिया, दक्षिण कोरिया र चीनको क्लबका टोली सहभागी हुँदै आएका छन् ।

खेलकुद

लिभरपुल विजयी

- एएफपी

लिभरपुल – मोहम्मद सलाहको दुई गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार रेलिगेसनबाट जोगिन संघर्षरत वाट्फोर्टलाई २–० ले पराजित गरेको छ । वाटफोर्डको व्यवस्थापकको रूपमा निजेल पिएरसनको यो पहिलो खेल थियो ।
पहिलो हाफमा साडियो मानेले अगाडि बढाइदिएको बलमा सलाहले कर्नरको कुना च्याप्दै गोल गरेका थिए । खेलको अन्तिममा उनले एनफिल्डमा
फ्ििलकिङमा गोल गरी लिभरपुलको विजय निश्चित गरे । वाटफोर्डले दुवै हाफमा गोलको मौका गुमाएको थियो । लिभरपुलका मानेले हेडमा गरेको गोललाई भीएआरले अस्वीवकृत गरेको थियो ।
लिभरपुल यस सिजनमा अपराजित छ । वाटफोर्ड पुछारमा छ भने टोली रेलिगेसन क्षेत्रमा अझै ६ अंकले पछाडि छ । लिभरपुलको १७ खेलमा ४९ अंक छ, जुन दोस्रो स्थानको लेस्टर सिटीभन्दा ११ अंक बढी हो ।

खेलकुद

कृत्रिम घाँसेमैदान निर्माण सुरु

- हरिराम उप्रेती

(गोरखा) - गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा फुटबल प्रशिक्षण केन्द्रका लागि कृत्रिम घाँसेमैदान निर्माण सुरु भएको छ । ४६ मिटर लम्बाइ र २३ मिटर चौडाइको मैदान बन्न लागेको हो । स्थानीय द ओसन क्लबले करिब ३१ लाख रुपैयाँको लागतमा मैदान बनाउन लागेको हो । क्लबका अध्यक्ष अमित खत्रीले चीनबाट घाँस ल्याएर बिछ्यााइने बताए । अहिले संचालनमा रहेको खेलमैदान स्तरोन्नति गरी सुविधासम्पन्न बनाउन लागीएको क्लबले जनाएको छ ।
बाह्रै महिना फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न मैदान आवश्यक देखिएको उनले बताए । ‘सानो पानी परे अहिलेको खेल मैदान हिलाम्मे बन्छ,’ उनले भने, ‘वर्षमा ६ महिना पनि फुटबलको प्रशिक्षण दिन पाएका छैनौं ।’ मैदानमा हाल ४० बालबालिका र युवाले फुटबल प्रशिक्षण लिँदै आएका छन् । ‘अबको ४ महिनाभित्रै घाँसेमैदान निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘घाँस फिफाको मापदण्डअनुसारको राख्छौं ।’
मैदानमा २३ लाख रुपैयाँ घाँस बिछ्याउन मात्र लाग्नेछ । ‘घासँबाहेकका संरचनाका लागि सकेसम्म स्थानीय स्तरमा पाइने निर्माण सामग्रीलाई प्राथमिकता दिन्छौं,’ उनले भने, ‘८ लाख रुपैयाँ नगद संकलन गर्नुपर्नेछ । विभिन्न संघसंस्थालाई भनिसकेका छौं । बाकी रकम जुटाइसक्यौँ ।’ मैदानका लागि प्रदेश सासंद कोषको ८ लाख र गोरखा नगरपालिकाले ७ लाख छुट्याएका छन् । वडा कार्यालयले १ लाख र पालुङटार नगरपालिकाले १ लाख सहयोग गर्ने आश्वासन दिएका छन् । मैदान व्यवस्थित बनाउन नवीन पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र प्रदेश सांसद हरिशरण आचार्यले संयुक्त रूपमा खेल मैदानको शिलान्यास गरेका छन् । दलभञ्ज्याङको करिब ९० रोपनी सार्वजनिक जग्गामध्ये सात रोपनी क्षेत्रफलमा मैदान निर्माण गर्न लागिएको हो । क्लबका अध्यक्ष खत्रीले स्विमिङ पुल, जिम हललगायतका संरचना पनि क्रमशः बन्दै जाने बताए ।

खेलकुद

पोखरा र काठमाडौं भिड्दै

- कुशल तिमल्सिना,दीपक परियार

(पोखरा) - दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट आइतबार सुरु हुँदै छ । प्रतियोगिता शनिबार सुरु हुनुपर्ने भए पनि वर्षाका कारण एक दिन सारिएको हो । उद्घाटन खेलमा साबिक विजेता पोखरा पल्टन र नवप्रवेशी काठमाडौं गोल्डेन्स वारियर्सबीच प्रतिस्पर्धा हुनेछ ।
पुस १२ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ६ सहरको नामबाट निर्मित फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ । हरेक टिमले तीनसम्म विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन् । अघिल्लो संस्करणभन्दा विदेशी खेलाडीको कोटा बढाइएको हो । लिग चरणमा शीर्षस्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो हुने टिमबीच इलिमिनेटर खेल हुने प्रावधान छ ।
विजेताले पाउने प्लेट आकारको ट्रफी शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरिसकेका छन् । क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी सबै टिमका कप्तानले उपाधिमा आफ्नो दाबी पेश गरेका छन् ।
पोखरा पल्टन, चितवन राइनोज, धनगढी ब्लुज, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन्स र विराटनगर टाइटन्स टिम प्रतियोगितामा सहभागी हुनेछन् । पोखराको कप्तानी शरद भेषावकर, चितवनको पारस खड्का, धनगढीको दीपेन्द्रसिंह ऐरी, बुटवलको सोमपाल कामी, काठमाडौंको ज्ञानेन्द्र मल्ल र विराटनगरको कप्तानी प्रदीप ऐरीले सम्हाल्ने छन् । प्रदीपले पहिलोपल्ट फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा कप्तानी गर्दै छन् । अघिल्लो संस्करणमा विराटनगरको कप्तानका रूपमा सन्दीप लामिछाने थिए । सन्दीप बिग–बास क्रिकेटका लागि अस्ट्रेलिया गइसकेका छन् ।
यसपल्ट पुरस्कार राशिमा फेरबदल गरिएको छैन । अघिल्लो संस्करणमा जस्तै यस संस्करणमा पनि उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । मोस्ट भ्यालुएबल खेलाडीले १ लाख र इमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

ज्ञानेन्द्र मल्ल (काठमाडौं गोल्डेन्स)
हाम्रो टिममा अनुभवी र युवा खेलाडीको सन्तुलन राम्रो छ । सुवास खकुरेल र अमृत भट्टराईले लामो समयपछि घरेलु क्रिकेटमा कमब्याक गर्दैछन् । त्यसबाहेक दुई चार युवा खेलाडी र विदेशी खेलाडीका कारण पनि टिम थप बलियो बनेको छ । सबै भूमिकाका लागि हामीसँग अतिरिक्त खेलाडी हुनेछन् । अघिल्लो संस्करणमा हामी इलिमिनेटरमा पुगेर हार्नुपरेको थियो । यसपल्ट उपाधि जित्ने लक्ष्यसहित आएका हौं ।

पारस खड्का (चितवन राइनोज)
हाम्रो टिममा एकजना विदेशी खेलाडी थपिएको छ । त्यसबाहेक सबै अघिल्लो संस्करणकै टिम हो । सन्नी पटेल अघिल्लो संस्करणकै उत्कृष्ट खेलाडीमध्ये थिए । त्यसबाहेक रोहन मुस्ताफा र बाबर हायतको उपस्थितिले सजिलो हुनेछ । त्यसबाहेक स्थानीय खेलाडी करण केसी, हरिशंकर साह, सुमित महर्जन, आरिफ शेखलगायत छन् । सबै टिममा उस्तै क्षमतावान खेलाडी छन् । उनीहरूबीचको सन्तुलन कसरी मिलाउने र कसरी प्रयोग गर्ने भन्ने मुख्य कुरा हो । फ्रेन्चाइज क्रिकेटमा ४–५ दिनको प्रशिक्षणपछि टिमसेट गर्नुपर्छ । टिम पुरानै भएका कारण हामीलाई केही फाइदा हुनसक्छ । अघिल्लो संस्करणको फाइनलमा पराजित भएका थियौं, यसपल्ट उपाधि जित्ने योजना हो ।

शरद भेषावकर (पोखरा पल्टन)
अघिल्लो सिजन उपाधि जितेकाले सबैले हामीलाई हराउन प्रयासरत हुनेछन् । किनभने उनीहरू हामीबाट उपाधि छिन्न चाहन्छन् । त्यसैले सजिलो छैन कि हामी लगातार जित्नु सकौं । तर हामी प्रयास अवश्य गर्नेछौं । हामीसँग क्षमतावान खेलाडी छन् । यसपल्ट कुशल मल्ल र आकाश चन्द पनि हाम्रो टिममा सामेल भएका छन् । नामअनुसार हामीलाई घरेलु समर्थकको साथ हुनेछ । अघिल्लो संस्करणको फाइनलमा पनि हामीलाई घरेलु समर्थकका कारण ठूलो हौसला मिलेको थियो ।

सोमपाल कामी (बुटवल ब्लास्टर्स)
हाम्रो टिममा युवा खेलाडीको बाहुल्य छ । अघिल्लो संस्करणको अनुभवका आधारमा पोखराको विकेट अनुसार हामीले ब्याटिङ बलियो बनाउने प्रयास गरेका छौं । भारतीय खेलाडीहरू अनुबन्ध गरेका छौं, उनीहरू राम्रो ब्याटिङ गर्न सक्छन् । टिमका लागि अपरिहार्य कुरा भनेको आत्मविश्वास हो । अघिल्लो संस्करणमा राम्रो सुरुआत गरेर पनि पछि परेका थियौं । यसपल्ट हामी नयाँ सुरुआत गर्न चाहन्छौं । त्यसका लागि हामीले सुरुआती दुई खेलमा अनुकूल नतिजा ल्याउनुपर्नेछ ।

दीपेन्द्रसिंह ऐरी (धनगढी ब्लुज)
पुराना खेलाडीहरू सबै छन् । नयाँ विदेशी खेलाडी आएका छन् । उनीहरूसँग म घुलमिल भएको छैन । तर उनीहरू पनि अनुभवी छन् । हाम्रा स्थानीय खेलाडीहरू पनि १–२ जना राष्ट्रिय टोलीमा पनि छन् । सबैजना नेपालका लिगहरूमा व्यस्त छन् । समग्रमा टिमको समन्वय राम्रो छ । हामी एकपछि अर्को खेलमा राम्रो गर्ने प्रयासमा हुने छौं । दुई विदेशी खेलाडी ओपनर र एकजना फिनिसरको भूमिकामा हुनेछन् । अघिल्लो संस्करणमा हामीले लिग चरण पार गर्न सकेनौं । यसपल्ट इलिमिनेटरसम्म पुग्ने लक्ष्य छ ।

प्रदीप ऐरी (विराटगनर टाइटन्स)
मैले यसअघि एपीएफ टिमको कप्तानी गरिसकेको छु । तर फ्रेन्चाइज लिगको पहिलो अनुभव हो । उत्साही पनि छु । यो मेरा लागि नयाँ चुनौती पनि हो । आफूलाई प्रमाणित गर्न र राष्ट्रिय टिममा पुनरागमनको प्रयासका लागि पनि यो मेरा लागि अवसर हो । अघिल्लो संस्करणमा हाम्रो प्रदर्शन राम्रो थिएन । अहिले टिममा सन्तुलन मिलेको जस्तो लाग्छ ।
विदेशी तीनै खेलाडीहरू अलराउन्डर छन् । यसले हामीलाई थप सहयोग हुनेछ । त्यसैले अहिले हामी जित्नका लागि आएका हौं । हरेक दिनमा हामी राम्रो प्रदर्शनका लागि प्रयासरत हुनेछौं । एक्रैपल्ट जित्न सकिने होइन, हरेक खेलमा हामी आफ्नो शतप्रतिशत दिनेछौं ।
टिमले राम्रो गर्नका लागि मैले पनि राम्रो प्रदर्शन गर्नु जरुरी छ । यसपल्ट शारीरिक र मानसिक रूपमा राम्रो प्रदर्शनको सोचसहित आएको छु ।

Page 17
कोपिला

सडकमा कसरी हिँड्ने ?

- मकर श्रेष्ठ
  • विद्यालय जाँदै गर्दा ट्रकले हानेपछि बाँके कोहलपुर एनटीभी रोडकी ११ वर्षीया प्रकृति चन्दले गत साता दुवै खुट्टा गुमाइन् । कक्षा ७ मा पढ्ने उनको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । बुबाले स्कुटरमा पुर्‍याएपछि झरेर उनी स्कुलको गेटतर्फ जाँदै थिइन् । ट्रकले हान्यो ।
  • मोरङ बेलबारी– ५ मा गत बुधबार २० महिने बालकको बसले किचेर मृत्यु भयो । शिवकुमारी साहले ठूलो छोरा योगराजलाई स्कुल पठाउन बसमा चढाएकी मात्र थिइन्, सोही गाडीले किचेर कान्छो छोरा राजको ज्यान गएको हो । 

हामी जानेर/नजानेर दुर्घटनामा पर्ने गरेका छौं । कतै चालकको लापरबाही हुने गरेको छ । धेरै दुर्घटना सडकमा हिँड्दा वा बाटो काट्दा सही तरिका नअपनाएकाले हुन पुगेको पनि देखिन्छ । त्यसैले कोपिलाको यो अंकमा हामी ‘सडकमा कसरी हिँड्ने ?’ भन्नेबारे चर्चा गर्नेछौं ।
ट्राफिक नियम पालना गर्ने हो भने मात्र पनि दुर्घटनाबाट आफू बच्न र अरूलाई बचाउन सकिन्छ । जथाभावी बाटो काट्दा र हिँड्दा प्रायःजसो दुर्घटनामा हुने भएकाले ट्राफिक प्रहरीले नारा नै बनाएको छ, ‘जथाभावी बाटो नकाटौं । दुर्घटनाबाट बचौं र बचाऔं ।’
हामी मात्र होइन, हाम्रा अभिभावकहरू पनि सडकमा हिँड्दा सवारी चालकले गाडी रोक्छ वा छलेर गइहाल्छ भन्ने सोचाइ राख्छौं । त्यो गलत हो । बाटोमा हिँड्नेलाई चालकले परबाट देख्न सहज हुँदैन । गुडिरहेको सवारीलाई तुरुन्तै रोक्न वा छेउ लगाउन पनि सम्भव हुँदैन । त्यसैले आफ्नो सुरक्षाको ख्याल आफैं गर्नुपर्छ । यस्तै जहाँ पायो त्यहीँबाट बाटो काट्छौं । आकाशेपुल हुँदाहुँदै सडकबाटै पार गर्छौं । जेब्राक्रस छाडेर जहाँ मन लाग्यो, त्यहीँबाट वारपार गर्छौं । यसो गर्नुहुन्न ।

ट्राफिक बत्ती, पैदल यात्रुलाई बाटो काट्ने ठाउँ, जेब्राक्रस, आकाशेपुल वा ट्राफिक प्रहरीको सहयोगमा बाटो काटे मात्र सुरक्षित हुन सकिन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल भन्छन्, ‘कसरी हिँड्ने भन्ने थाहा नभएर हामी दुर्घटनामा पर्ने गरेका छौं । पेटी भएको ठाउँमा पेटीबाट हिँड््नुपर्छ । पेटी नभएको ठाउँमा आइरहेको सवारी सामुन्ने पारेर हिँड्नुपर्छ ।’ ढकालका अनुसार बाटो काट्नुअघि ‘रोक, पर्ख, हेर, सुन, सोच अनि जाऊ’ को नियम पालना गर्नुपर्छ । बाटो काट्नुअघि रोकिनु र पर्खनुपर्छ । दुवैतर्फको सवारीको गति र अवस्था हेर्नुपर्छ । सवारीको आवाज सुन्नुपर्छ । सवारीले हामीलाई देख्न र रोक्न उपयुक्त समय दिनुपर्छ । सवारी रोकिएपछि मात्र बाटो काट्न तयार हुनुपर्छ । सडक पार गर्न सुरक्षित महसुस भएपछि मात्र बाटो काट्नुपर्छ । सवारी नजिकै छैन भन्ने पक्का भएपछि मात्र सिधा हिँडेर सडक पार गर्नुपर्छ । तर पनि हेर्दै र गाडीको आवाज सुन्दै हिँड्नुपर्ने हुन्छ । नजिकै सवारी छ भने, त्यसलाई जाने मौका दिनुपर्छ । किनकि, चालकले सवारी तुरुन्त रोक्न सक्दैन र दुर्घटना हुन सक्छ ।
सहरी क्षेत्रका प्रायःजसो सडक र चोकमा ट्राफिक बत्ती हुन्छन् । बत्ती नभएका सहरका चोकमा ट्राफिक प्रहरी बसेका हुन्छन् । उनीहरूले इसारा गरेपछि मात्र बाटो काट्दा सुरक्षित होइन्छ । ट्राफिक लाइट भएको स्थानमा बाटो काट्दा मानवचिह्न भएको हरियो बत्ती बलेपछि मात्र अघि बढ्नुपर्छ । अझ बाटो काट्दा एक्लै हिँड्नु हुँदैन । समूह बनाएर पंक्तिमा बाटो काट्दा सुरक्षित हुन सकिन्छ । दुर्घटनामा पर्ने अर्को कारण बाटो हिँड्दा मोबाइल फोनको प्रयोग र साथीसँगको कुराकानीमा बढी केन्द्रित हुनु पनि हो । यस्तै, सवारी चाप हुँदाहुँदै बाटो काट्ने दुष्प्रयास पनि दुर्घटनाको कारण हो । कहिलेकाहीँ बार र डोरी नाघेर बाटो काट्ने पनि गर्छौं । यी सबै बानी गलत हुन् ।
बाटो काट्दा सवारी चालकलाई गाडी रोक्न हातले इसारा गर्नुपर्छ । जेब्राक्रस र सडक–पेटीमा तँछाड– मछाड गरेको पनि देखिन्छ । यसो गर्नाले पनि हामी दुर्घटनामा पर्छौं । हुत्तिएर सडकमै लड्न पनि सक्छौं ।
घटनाहरूले के देखाएका छन् भने, सहरी क्षेत्रमा बढी दुर्घटना पर्ने समय साँझ, राति र बिहान हो । त्यसैले रातको समयमा बाटो काट्दा चम्कने वा टल्कने लुगाको प्रयोगले बढी सुरक्षित हुन सकिन्छ ।
अभिभावकले के गर्ने ? नानीबाबुहरू सडक कति जोखिम भन्ने थाहा पाउँदैनन् । १० वर्षमुनिका नानीबाबुहरूले सवारीको गति र दूरी आँकलन गर्न नसक्दा सुरक्षित तरिकाले बाटो काट्न सक्दैनन् । केटाकेटीको सुरक्षा अभिभावककै जिम्मेवारी हो । कहिले पनि साना केटाकेटीलाई सडक वा पेटीमा एक्लै हिँड्न दिनु हुँदैन । बाटो काट्दा बालबालिकालाई बीचमा राखेर हिँडाउनुपर्छ । उनीहरूको हात राम्रोसँग समात्नुपर्छ । आमाबुबा वा अभिभावकले ट्राफिक नियमको पालना गरे मात्र छोराछोरीले पनि त्यही सिक्छन् । बालबालिकालाई सडकमा खेल्न र गाडीको पछाडि दौडन दिनु हुँदैन ।

कुन बेला रोकिने, कुन बेला बाटो काट्ने ?

सहरी क्षेत्रका सडकमा धेरै ठाउँमा पदयात्रीका लागि संकेत हुन्छ, जसले सवारीलाई कहिले रोक्ने र पदयात्रीलाई कहिले बाटो काट्ने भनी निर्देशन दिन्छ । रातो संकेतमा कहिल्यै बाटो काट्नु हुँदैन ।
जब बत्ती बदलिएर स्थिर हरियो पदयात्री संकेत देखिन्छ र सवारी रोकिन्छन् तब मात्र सावधानीपूर्वक बाटो काट्नुपर्छ । केही समयपछि हरियो संकेत बत्ती झिपझिप गर्न थालेपछि भने बाटो काट्न अघि बढ्नु हुँदैन । किनभने यो संकेत रातोमा बदलिन लागेको हो । रातो ट्राफिक बत्ती बलेर सवारी नरोकेसम्म बाटो काट्नु हुँदैन । अझ कुनातिरबाट मोडिएर आउन सक्ने सवारीका लागि झनै होसियार रहनुपर्छ । ट्राफिक संकेत कुनै लेनको सवारीलाई रोक्न र कुनै लेनको सवारीलाई जान दिनका लागि पनि हो भन्ने कुरा बिर्सनु हुँदैन ।

के गर्ने के नगर्ने ?

  • बालबालिकाले आफूभन्दा ठूलोका हात समाएर हिँड्ने
  • फुटपाथ र आकाशेपुलको प्रयोग गर्ने
  • फुटपाथ र आकाशेपुल नभएको स्थानमा सडक खाली भएपछि र सवारीको गति कम भएपछि समूहमा बाटो काट्ने
  • बाटो काट्दा चालकलाई गाडी रोक्न संकेत दिने
  • मोबाइल चलाउँदै र साथीसँग गफ गर्दै नहिँड्ने
  • सडक–पेटी र जेब्राक्रसको प्रयोग गर्दा अरूलाई धकेल्दै नहिँड्ने
  • रातको समयमा चम्किलो लुगाको प्रयोग गर्ने
  • सडक–पेटी नभएमा दाहिने किनाराबाट हिँड्ने
  • सडकमा कहिल्यै नखेल्ने
  • सडक बीचको बार र डोरी ननाघ्ने
  • हतारिएर बाटो पार नगर्ने
  • सवारी चढ्दा र ओर्लंदा अरूलाई नधकेल्ने

यस्तोमा बाटो काट्दा असुरक्षित होइन्छ :


Page 18
Page 19
कोपिला

विदेहाको अनेक कला

- कान्तिपुर संवाददाता

उमेरले उनी ६ वर्षकी मात्र भइन् । तर उनको अनेक प्रतिभाले सबैलाई अचम्म पर्छ । यो उमेरमै चित्रकला र संगीतमा पोख्त छिन् । पुस्तकसमेत प्रकाशित गरिसकेकी छन् । दोस्रो पुस्तकको पनि तयारी भइरहेको छ । र, उनी हुन्– ललितपुरकी विदेहा रञ्जन ।
उनै विदेहाले गत साताको शनिबार पाटन संग्रहालयको केशवनारायण चोकस्थित प्रदर्शनी कक्षमा आफ्नो प्रतिभा प्रस्तुत गरिन् । त्यहाँ उनले बनाएका चित्रहरू प्रदर्शनीमा राखिएको मात्र थिएन, उनले बजाएको बाँसुरी र पियानाको धुनले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । विदेहाले कार्यक्रमका अतिथिहरूसामु आफ्नो आगामी पुस्तक ‘आई लाइक माई लाइफ’ बारे जानकारी गराइन् ।
त्यस क्रममा प्रमुख अतिथि उपन्यासकार पद्मावती सिंहले विदेहाको बहुप्रतिभा प्रशंसनीय भएको बताइन् । कार्यक्रममा सहभागी शिक्षाविद्, चिकित्सक, अभिभावक, स्रष्टा र सञ्चाकर्मीसमक्ष विदेहाले पूर्वेली परम्परामा बाँसुरी र पाश्चात्य परम्परामा पियानो बजाएकी थिइन् ।
उनका बुवा पल्लब रञ्जनका अनुसार प्रकाशोन्मुख कृति ‘आई लाइक माई लाइफ’ विदेहाको दोस्रो पुस्तक हो । यसअघि तीन वर्षको जन्मदिन पारेर नेपाल कला परिषद् प्रदर्शनी कक्षमा उनको ‘अर्ली क्रिएसन्स्’ एकल कला प्रदर्शनी तथा कला पुस्तक विमोचन भएको थियो ।
विदेहाको कला न्युयोर्कको नाइन्टी सेकेन्ड वाइको जिनियस प्रदर्शनीमा परेको छ । इसिप्याक्ट लग्जेमबर्ग नेपालको वार्षिक प्रतिवेदन तथा मुक्ति आयोजनाको न्युजलेटरको आवरण, जर्मन दूतावासको नेपालमा ६०औं वार्षिकोत्सव प्रकाशनको आइकन र यूएन वुमन पर्चामा पनि उनको कला छापिएका छन् । ‘उनी अस्पताल पुगेर क्यान्सर पीडित बिरामीलाई संगीत सुनाएर रिफ्रेस गराउने प्रयास पनि गर्छिन्,’ आमा भगवती सापकोटाले भनिन्, ‘हरेक शुक्रबार पाटन कुमारीसँग स्वयंसेविका रूपमा पढलेख पनि गर्छिन् ।’

Page 20
कोपिला

मेरो गाउँ

कविता

नदी अनि चरा मिली
गाउँछन् मीठो भाका,
स्वर्गजस्तै सुन्दर लाग्छ
मलाई आफ्नै डाँडापाखा ।

तलमाथि चारैतिर
सुन्दर खेतबारीका गरा,
मेरो गाउँको सेरोफेरो
लाग्छ ज्यादै हराभरा ।

आँगनबाट हिमाल हेर्छु
हेर्छु हरियाली वन,
आफ्नै गाउँमा सधैंभरि
रमाउँछ मेरो मन ।

सुन्दर गाउँको रूप देख्दा
चौडा हुन्छ मेरो छाती,
खोंचबाट नदी बग्छ
झरना झर्छ गाउँको माथि ।
- कृतिका खनाल, कक्षा–७
भाग्योदय मावि, स्याङ्जा

कोपिला

बादल हाम्रो साथी

कविता

आकाशमा बादलका
देख्छु अनेक रूप,
बादलभित्र रमाउँदा
हर्ष लाग्छ मलाई खुब ।

हावा लाग्दा बादल उडाई
धेरै परपर लान्छ,
हेर्दाहेर्दै एकैछिनमा
कुन्नि कता जान्छ ।

कहिले कालो कहिले सेतो
कहिले हुन्छ रातोरातो,
गड्याङगुडुङ गर्दा यसले
जान्छ सबको सातो ।

भेटूँभेटूँ लाग्छ यसलाई
तर हुन्छ धेरै माथि,
पृथ्वीमा पानी पार्ने
बादल हो असल साथी ।
- सिल्मोन महर्जन, कक्षा–८
कान्जिरोवा नेसनल मावि, काठमाडौं

कोपिला

नभन मलाई खाते

कविता

थोत्रो बोरा बोकेर
हिँड्छु सधैं काँधमा,
दिनभरि डुल्छु
बाँस छैन साँझमा ।

सडकमा मेरो बास
रछ्यानमा डुल्छन् हात,
जीउभरि धुलोमैलो
टाँसिएको छ खातैखात ।
मेरो पनि नाम छ
न्वारानमा राखिन आमैले,
मेरो पनि मन छ
भाग्य पो खोस्यो दैवले ।

जाडो हुँदा काम्दै हिँड्छु
गर्मी हुँदा गुम्सिन्छु,
सपना त म पनि देख्छु
विपनामा खुम्चिन्छु ।
पिनले कोपेर हेर त
छियाछिया भए हात,
नभन मलाई खाते
सक्छौ भने देऊ साथ ।
- गौरी न्यौपाने, लमजुङ

Page 21
Page 22
Page 23
Page 24
कोपिला

हीराको हार

कथा
- क्रान्ति पाण्डे

गोदावरीको जंगलमा अग्लो सिमलको रूख थियो । रूखको टुप्पामा कौवाका जोडीले बचेरा हुर्काउँदै थिए । उनीहरूको गुँडको मुन्तिर, सिमलको अग्लो रूखको किनारमा बाह्रमासे खोला बग्थ्यो ।
स्थानीय मानिस र उनीहरूका बच्चाहरू शनिबारको दिन नुवाईधुवाई गर्न खोलामा आउँदा त्यहाँ निकै होहल्ला पनि हुन्थ्यो ।
त्यस दिन आइतबार थियो । खोला सुनसान नै थियो । बुबा कालु कौवाले बचेराहरूलाई गड्यौला र कीराफट्यांग्राको बन्दोबस्त गर्न खोलातिर उड्यो ।
निकै बेर खोज्दा पनि उसले गड्यौला र कीराफट्यांग्रा भेट्टाएन ।
‘ओहो अब त कीरा–फट्यांग्रा भेट्न पनि मुस्किल पो हुन थाल्यो,’ चिन्तित हुँदै कालु कौवाले भन्यो । मानिसले खोला किनारामा नुवाईधुवाई गर्दा साबुन र सरफ अत्यधिक प्रयोग गर्थे । यसो हुँदा त्यहाँका कीराफट्यांग्रा घट्दै गएका थिए ।
खानेकुरा खोज्दै गर्दा कालु कौवाले खोला किनारामा रहेको ढुंगाबाट आँखै खाने चमक आएको देख्यो । नजिक पुगेर हेर्दा त्यो चम्किलो वस्तु मालाजस्तै थियो । खासमा त्यो हीराको हार थियो । नुहाउन आएकी महिलाले ढुंगामा राखेको हीराको हार बिर्सेर छोडेकी थिइन् । कालु कौवाले खानेकुरा नभेटेपछि त्यहीँ हार चुच्चोमा लियो र गुँडतिर उड्यो ।
कालु कौवा उडेर गुँडमा पुग्यो । बचेराहरूले कालु कौवाले खानेकुरा ल्यायो भनेर मुख ‘आँ आँ’ गर्न थाले । उनीहरूले खानेकुरा ठान्दै हारलाई ठुँग्न थाले । हार साह्रो न साह्रो थियो । बचेराहरू ठोँड दुखेर रुन थाले ।
‘बाबुहरू यो खानेकुरा हैन,’ आमा काली कौवाले भनी । ‘बूढी, तिमी यो हार लगाई हेर त । महिलाहरू बजार जाँदा टिलिक्क टल्कने यस्तै हार लगाएर हिँडेका हुन्छन्,’ कालु कौवाले भन्यो ।
काली कौवाले हीराको हार लगाई । अब बचेराहरू रुँघ्ने पालो कालु कौवाको थियो । काली कौवा हीराको हार लगाएर हावा खाँदै कौवाहरूको समूहमा पुगी । ओथारो बस्दा ऊ बाहिर नगएको पनि धेरै दिन भएको थियो ।
काली कौवालाई देखेर छिमेकी कौवाहरू ‘काँ काँ काँ को हौ तिमी ?’ पो भन्न थाले । उनीहरूलाई काली कौवाको घाँटीमा भएको हारको चमक सिधैं आँखामा परेको थियो ।
‘म सिम्ला रूखे काली हुँ,’ काली कौवाले भनी ।
‘ओहो काली पो तिमीलाई हामीले कस्तो नचिनेको,’ फुर्सी कौवाले अचम्म मान्दै भनी ।
‘अनि तिम्रो घाँटीमा रहेको त्यो चम्कने चिज के हो ?’ सबै कौवाले काली कौवालाई एकैसाथ सोधे ।
‘यो हीराको हार हो । मेरा बूढाले खोलामा भेट्टाएका । हीराको हार निकै नै महँगो हुन्छ र मानिस यसलाई लगाउँदा सानदार देखिन्छन् । उनीहरू हीराको हार पाउँदा निकै खुसी हुन्छन् अनि यसलाई शोभा दिने वस्तुका रूपमा लगाउँछन्,’ काली कौवाले फुर्किँदै थपि, ‘साँच्चै हीराको हार मलाई कस्तो देखिएको छ ?’
‘हामीले त तिमीलाई चिनेनौं भनेपछि तिमी आफैं विचार गर काली,’ सबै कौवाले एकैसाथ भने । आफ्नो भएको राम्रो रूपमा हीरा लगाउँदा छिमेकीहरूले नचिन्दा आपत् परेको कुरा सम्झँदै काली कौवा त्यहाँबाट उडेर तुरुन्त गुँडमा गई ।
गुँडमा पुगेर काली कौवाले छिमेकी कौवासँग भएका सबै घटना कालु कौवालाई बताई । उसले भनी, ‘यो त कस्तो अनावश्यक चिज रहेछ । हार लगाएपछि सान बढ्ला भनेको त मेरा छिमेकीहरूले समेत मलाई चिनेनन् । बूढा म त यस्तो हार लगाउँदिनँ ।’ यति भनिसकेपछि काली कौवाले हीराको हार घाँटीबाट निकाली र कालु कौवालाई दिई ।
आफूले भेटाएको हार बिनाकामको भएपछि कालु कौवाले हीराको हारलाई गुँडको छेउमा रहेको हाँगामा भुन्डाइदियो ।
केही दिनपछिको कुरा हो । बिहानीपख उनीहरूको गुँड मुन्तिर निकै हल्लीखल्ली भयो । तल पाँचजना मानिस रूखको माथि हेर्दै कुरा गर्दै थिए । उनीहरू भन्दै थिए, ‘हेर त माथि हीराको हार टलक्क टल्केको । त्यसलाई भेट्टाउन पाए त ।’
केहीबेरमा उनीहरू नजिकैको घरबाट आरा र बन्चरो लिएर आए र फेरि पहिलेजस्तै माथिमाथि हेर्दै केके कुरा गर्न थाले ।
एकजना मोटे मान्छेले आरा लिएर मोटो र अग्लो सिमलको रूख काट्न थाल्यो । उसले बल गरीगरी रूख रेट्न थाल्यो । रूखमा आरा चलाउँदा रूख हल्लिन थाल्यो । मानिसको यस्तो चाला देखेर काली कौवा आत्तिई र भुइँतिर हेर्दै भनी, ‘लौन बाबा केही गर्नुपर्‍यो ।’ कालु कौवाले छिटोछिटो ठोँडले हीराको हार टिप्यो र भुइँमा खसालिदियो । मानिस रूख काट्न छाडेर हीराको हारका लागि तँछाडमछाड गर्न थाले ।
‘मैले पहिले देखेको हो, हार मेरो हो,’ पाँच जनामध्येको सबैभन्दा मरन्च्याँसे मानिसले भन्यो ।
‘हैन मैले हो,’ अर्को लम्बुले भन्यो ।
‘हैन मैले...’ सबैभन्दा होचो मानिस पनि उस्तै गरी चिच्याउन थाल्यो ।
यत्तिकैमा अर्कोले भन्यो, ‘यो हामी सबैको हो, अब यसलाई टुक्राटुक्रा पारी भाग लगाउनुपर्छ ।’
अन्तिममा आरा लिएर रूख काट्न तम्सने मोटे मान्छेले भन्यो, ‘धन्न कौवाले हीराको हार खसालिदियो । कौवाले नखसालिदिएको भए हामीलाई यत्रो मोटो र अग्लो सिमलको रूख काट्न दिनभर लाग्थ्यो होला ।’
उता गुँडमा रहेको कालु कौवाले भन्यो, ‘धन्न उनीहरूले हाम्रो रूख काटेनन् । नत्र हाम्रा बचेराहरू बाँच्ने पनि थिएनन् होला ।’ कालु कौवाले यति भन्दै आफ्ना बचेराहरूलाई अँगालोमा बाँध्यो ।
काली कौवा गहभरि आँसु पार्दै सुँकसुँक गर्न थाली ।