You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा

- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा छन् भने दलको प्रतिनिधित्व गर्ने दुई मन्त्रीसहितका ७ सांसद नयाँ दलमा लागेका छन् । अब पार्टी अध्यक्षको समूहमा उनीसहित ५ सांसद छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो । गत २१ फागुनमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन बनाएको भनेर सार्वजनिक घोषणा गरेका
जसपा अध्यक्ष यादवले उक्त निर्णय पार्टीबाट अनुमोदन गराउन निकै धेरै मिहिनेत गर्नुपरेको थियो । लामो कसरतपछि नवलकिशोर साह सुडीलाई वन तथा वातावरण र दीपक कार्कीलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउँदै यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका छन् । तर, मन्त्री सुडीले समेत यादवको नेतृत्व छाडेका छन् ।
अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव स्वदेश आउँदा नआउँदै पदमुक्त हुने सम्भावना छ । उनको सट्टा नयाँ दलका सांसदलाई मन्त्री बनाउने गठबन्धन नेतृत्वको तयारी छ । नयाँ दलको नेतृत्व सांसदसमेत रहेका अशोक राईले गरेका छन् ।
माओवादीसँगको सहकार्य अप्रत्याशित रूपमा टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा वैकल्पिक गठबन्धनको तयारीमा छन् । यसमा उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मात्र होइन, जसपा
अध्यक्ष यादवको साथ रहेको भन्दै त्यसलाई निरस्त बनाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रयासरत थिए । ‘खासगरी माधव नेपाल र उपेन्द्र यादवको भूमिकाले गठबन्धनभित्र संशय पैदा गरेको थियो, दुवै दल सरकारमा भए पनि निरन्तर कांग्रेस सभापतिसँग संवादमा छन् भन्ने दाहाल र ओलीको बुझाइ थियो,’ एमालेका एक नेताले कान्तिपुरसँग भने, ‘उनीहरू यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने तयारीमा लागेपछि वर्तमान सत्ता गठबन्धनले नयाँ रणनीति बनाएको हो ।’
सत्तारूढ दलका एक नेताका अनुसार देउवा, नेपाल र यादवबीच पटकपटक भएका संवादपछि उनीहरूबीच बाँकी कार्यकाल बाँडेर तीनै जना आलोपालो प्रधानमन्त्री बन्ने समझदारी बनेको थियो ।

त्यही समझदारीले आकार लिने सम्भावना देखेपछि नेता नेपालले आफू प्रधानमन्त्री बन्ने संकेतले ‘कतिपयको पेट दुखेको’ टिप्पणीसमेत गरेका थिए । त्यसैले दाहाल र ओली मिलेर अहिले यादवलाई कमजोर बनाइदिएको र यो नजिरले माधव नेपाललाई पनि अप्ठ्यारो पर्ने सक्ने उनको भनाइ छ ।
‘उपेन्द्र यादव आफैं प्रधानमन्त्री बन्ने गरी वर्तमान गठबन्धन भत्काउन लाग्नुभएको थियो, त्यसैले दाहाल र ओलीले जसपा नै विभाजन गराइदिएका छन् । अब तत्काल वैकल्पिक सरकारको सम्भावना टरेको छ । बरु विभाजनको संक्रमण नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सर्न सक्छ ।’
मन्त्री साहले पनि पार्टी नेतृत्व नै गठबन्धन ढाल्ने प्रयासमा लागेपछि आफूहरूले नयाँ पार्टी गठन गरेको दाबी गरे । ‘यो पार्टीभित्रको आन्तरिक विषय हो । जुन सरकारमा बस्यो, त्यही सरकार ढाल्ने प्रयास भयो । त्यसैले हामीले यो कदम उठायौं । हाम्रो कदमले सत्ता समीकरणमा कुनै प्रभाव पर्दैन, बरु यो समीकरण र सरकारलाई झन् बलियो बनाउँछौं,’ उनले भने । जसपा विभाजनमा भूराजनीतिक प्रभावभन्दा पनि दलको आन्तरिक विवाद नै मुख्य कारण भएको नेताहरूको दाबी छ । विभाजित जसपाका सांसद प्रदीप यादवले एकलौटी गर्ने पार्टी अध्यक्षको कार्यशैलीमा परिवर्तन नभएपछि पार्टी विभाजनमा जानुपरेको बताए । उनले पार्टी र संसदीय दलमा अध्यक्षले सहकर्मीलाई बँधुवा मजदुरजस्तै बनाएकाले विद्रोह गरेको बताए । ‘कोहीसँग सल्लाह पनि नगर्ने, जे भन्यो त्यही हजुर भनिदिनुपर्ने । हामी त बँधुवा मजदुरजस्तो,’ उनले भने, ‘आउँदै गरेको महाधिवेशनमा अध्यक्षले आफू नजिककालाई मात्रै जिम्मेवारी दिने तयारी गर्नुभएको थियो । आफ्नो पक्षमा सामाजिक सञ्जालमा लेख्नेलाई मात्रै सदस्य बनाउने र फरक मत राख्नेलाई सदस्यता नदिने गरी समाप्त गर्न खोज्नुभएको थियो । त्यसैले हामीले नयाँ बाटो लियौं ।’
विभाजित दलका संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि विभाजनले गठबन्धन कमजोर नभएर बरु झनै बलियो भएको दाबी गर्छन् । भन्छन्, ‘राजनीतिक अस्थिरताले देशमा संकट आउँछ । त्यसैले हामी गठबन्धनबाट दायाँ–बायाँ गर्ने पक्षमा छैनौं, गठबन्धन टुटाउन यो गरिएको होइन, यसले बरु झन् बलियो बनाउँछ ।’ उनले पार्टी अध्यक्ष यादवले पार्टी प्रणालीलाई सधैं नजरअन्दाज गरेको आरोप लगाए । ‘६ महिनाअघि बैठकमा हामीले सँगै यात्रा गर्ने हो भने पार्टीभित्र सकारात्मक वातावरण बनाऔं भनेको हो । तर बन्न सकेन । एउटा सहमति हुन्छ, कार्यान्वयन हुन्न । फेरि सहमति हुन्छ, कार्यान्वयन हुन्न । राजनीतिक इमानदारिता नभएपछि फुटको स्थितिमा आइपुगेको हो,’ श्रेष्ठले भने । जसपाको महाधिवेशन जेठ २८ देखि हुँदै छ ।
उपेन्द्र नेतृत्वको जसपा नेपालमा रहेका प्रवक्ता मनीष सुमन पनि पार्टी विभाजित हुनुमा आन्तरिक कारण नै मुख्य भएको बताउँछन् । उनका अनुसार पार्टीको आसन्न महाधिवेशनपछि अहिले पाइरहेको भूमिका पनि प्राप्त नहुने चिन्ताले केही नेताले पार्टी विभाजन गरेको आरोप लगाए । उनले नेतृत्व गठबन्धनको विपक्षमा नभएको दाबी गरे । ‘केही साथीहरू पार्टी छाडेर गए । आफ्नो राजनीतिक हत्या आफैंले गरे । यसले कसैलाई केही हुनेवाला छैन । सत्ता गठबन्धनसँग हाम्रो सहभागिता टुट्दैन । फरक ढंगले सोचिएको पनि छैन । अर्को निर्वाचन रहुञ्जेल गठबन्धन कायम हुन्छ,’ सुमनले भने, ‘नेतृत्व वैकल्पिक गठबन्धनमा जान खोजेको भन्ने आरोप मिथ्या हो ।’
अर्कोतर्फ कांग्रेस–माओवादीसहितको तत्कालीन गठबन्धनमा प्रधानमन्त्रीको रोलक्रममा रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले अध्यक्ष केपी ओलीबीचको तिक्तता गठबन्धनभित्र बढिरहेको छ । विश्वासको मत लिने बेलामा प्रधानमन्त्रीको रोलक्रममा राख्ने आश्वासन दिए पनि ओलीले पछिल्लो पटक त्यसको खण्डन गरेपछि असन्तुष्ट बनेको भन्दै नेपालले गठबन्धन नै छाड्नेसम्मका चेतावनी दिँदै आएका छन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे सत्ता सहयात्री दलहरू नै चोइटिन थालेपछि दाहाल नेतृत्वको सत्ता समीकरण संकटको भुमरीमा फसेको टिप्पणी गर्छन् । ‘तत्कालै समस्या नभएको जस्तो देखिए पनि जसपाभित्रको विभाजनले गठबन्धन झनै कमजोर बन्न पुगेको छ, मेरो विचारमा अब लामो समय यसले निरन्तरता पाउला भन्ने लाग्दैन,’ उनले भने ।
माओवादीका नेता देवेन्द्र पौडेल भने गठबन्धनभित्र तत्काल समस्या नरहेको दाबी गर्छन् । ‘टुटफुट हुनु राम्रो होइन । सकभर मिलेर जाँदा राम्रो हुन्थ्यो । तर, यसैका कारण गठबन्धन अप्ठ्यारोमा पर्दैन । जसपाभित्रका दुइटै समूह नभए पनि एउटा समूह सरकारमै रहन्छ भन्ने विश्वास छ,’ उनले भने ।
सत्ता गठबन्धनभित्रै खटपट चलिरहेका बेला कतिपय नेताहरू कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने कसरतमा पनि छन् । कांग्रेसभित्रै नेता शेखर कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू कांग्रेस–एमाले समीकरणको पक्षमा छन् । शेखरले गत बुधबार र थापाले केही दिनअघि एमाले अध्यक्ष ओलीसँग लामो छलफल गरेका थिए । तर, सभापति देउवा भने एमालेसँग समीकरण बनाउने पक्षमा तयार भइसकेका छैनन् ।
कांग्रेस नेता मीनेन्द्र रिजाल राष्ट्रिय एजेन्डाका विषयमा समझदारी नभई सत्ताका लागि मात्रै कांग्रेस–एमालेबीचको समीकरणको विकल्पमा जान कठिन हुने बताउँछन् । ‘स्थिरताका निम्ति निर्वाचन प्रणालीमा परिमार्जन गर्न आवश्यक छ । संविधान संशोधन, समृद्धि र सुशासनको एजेन्डामा समझदारी नभई बन्ने गठबन्धनको कुनै अर्थ हुँदैन,’ उनी भन्छन् ।
अहिले भइरहेको १ सय १० समानुपातिक सिटलाई ६० सिटमा झारेर जान सकिने रिजालको प्रस्ताव छ । ‘यसमा समझदारी हुन सक्यो भने केही समय एमाले–कांग्रेस वा यी दुई पार्टीको अगुवाइमा अरू दललाई समेत समावेश गराएर नयाँ गठबन्धनमा जान सकिन्छ,’ रिजालले भने, ‘कांग्रेस र एमालेबीच जति पटक छलफल भए पनि संरचनागत सुधारको विषयमा समझदारी नभई सत्ताका लागि मात्रै गठबन्धन बनाउने कुरा हुन्न ।’

मुख्य पृष्ठ

‘विभाजनको मुख्य कारण उपेन्द्रजी नै हो’

- कान्तिपुर संवाददाता


अध्यक्ष विदेश भएका बेला एकाएक पार्टी विभाजन गर्नुपर्ने अवस्था कसरी आयो ?
एकाएक तयारी भएको पक्कै होइन । पहिल्यैदेखि नै पार्टीमा विवाद थियो । बेलाबेला बाहिर आइरहेकै थियो । विजय गच्छदार, जेपी गुप्ता, महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतो, महेन्द्र राय यादव कोही पनि अध्यक्षको कार्यशैलीका कारण टिक्न सकेनन् । अशोक राईलाई पनि सम्मान गरेर राख्न सक्नु भएन । पार्टीमा प्रोफाइल भएको, जनमत भएको नेतालाई नरुचाउने, नेता बन्न नदिने, पाखा लगाउने काम हुँदै आयो ।

यो एकाएक भएको होइन । धेरै अघिदेखिको असन्तुष्टिको परिणाम हो ।
यही कारणले मात्रै पार्टी विभाजन गर्नुपरेको हो त ?
पछिल्लो पटक पार्टी महाधिवेशनमा पनि एकलौटी गर्न खोज्नुभयो । विधानविपरीत जालझेल गरेर, हामीहरू अनुपस्थित भएका बेला प्रदेश र जिल्लाका निर्वाचित अध्यक्षहरूलाई हटाउने, प्रणालीबाट क्रियाशील दिनुपर्नेमा आफ्नो नजिककालाई वितरण गर्ने, जिल्ला र पार्टीका नेताहरूमार्फत गएन । पार्टीको बैठक समयमै राखिएन । महाधिवेशनमा एकलौटी गर्न नेतृत्वमा हैकमवादी प्रवृत्ति देखियो । सबैलाई अवसर दिनुपर्छ, प्रक्रिया र विधिसम्मत रूपमा जो निर्वाचित हुन्छ, त्यो अध्यक्ष हुन्छ भन्ने भावना पार्टीमा थियो । तर, उहाँले त्यसलाई रोक्न खोज्नुभयो । एकलौटी रूपमा आफैं निर्वाचित भएर आउने काममा लाग्नुभयो । अर्को कुरा, सत्तामा पनि कहिले यता लाग्ने, कहिले उता लाग्ने, स्थिर नहुने । पटक–पटक सरकार परिवर्तन हुने, प्रदेश सरकार पनि परिवर्तन हुन थालेपछि संघीयतामाथि पनि प्रश्न उठ्न थाल्यो । त्यसैले दीर्घकालीन मोर्चाका रूपमा र सरकारलाई स्थिर बनाउने हिसाबले कदम उठाइएको हो । पार्टीमा पनि हैकमवादी प्रवृत्तिबाट होइन, सामूहिक नेतृत्वको हिसाबले अघि बढाउनुपर्छ भन्ने भावनाका साथ हामीले छुट्टै पार्टी बनाउने निर्णयमा पुगेका हौं ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा पनि जसपाभित्र सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा चर्को विवाद थियो । अहिले त्यसैको परिणाम हो ?
त्यस्तो होइन । पार्टीभित्र त्यतिबेलादेखि होइन, लामै समयदेखि विवाद थियो । सरकारमा विश्वासको मत दिने बेलामा उहाँलाई मन्त्री बनाउने कुरामा विवाद थिएन । महाधिवेशनमा एकलौटी ढंगले अघि बढ्न खोजेपछि अवस्था बिग्रेको हो र अहिलेको निर्णय लिन बाध्य भएका हौं ।
सत्ता गठबन्धन बदल्नकै लागि तपाईंहरूले पार्टी विभाजन गर्नुभएको भन्ने सन्देश गइरहेको छ नि ?
होइन । अहिलेसम्म गठबन्धनमा कुनै संकट परेको छैन । गठबन्धनको निरन्तरताको पक्षमा हामीहरू छौं । नयाँ गठबन्धन केका लागि बनाउने ? फेरि अस्थिरता ल्याउने ? केन्द्रमा गठबन्धन परिवर्तन भएपछि फेरि सातै प्रदेशमा सरकारहरू परिवर्तन गर्ने ? यसले कस्तो सन्देश दिन्छ ? देशको आर्थिक अवस्था कमजोर भएका बेलामा स्थिर सरकार होस् भन्ने हामीहरूको कुरा हो ।
जसपा विभाजनमा भूराजनीतिक कारण पनि जोडिएको भनेर अर्थ्याउन खोजिएको छ, तपार्इं के भन्नुहुन्छ ?
भूराजनीतिक कुरा केही होइन । यो विभाजनको मुख्य कारण उपेन्द्रजी नै हो । उपेन्द्रजीको प्रवृत्ति र कार्यशैली जिम्मेवार हो । हामी गलत थियौं भने महन्थ, जेपी, विजय, राजेन्द्र, बाबुराम सबै गलत कसरी हुन्छन् ? एउटै व्यक्तिका कारण यस्तो सिनियर नेताहरू किन टिक्न सकेका छैनन् ? बाबुराम भट्टराई जस्तो प्रधानमन्त्री भइसकेको मान्छेले नेतृत्व स्वीकार गरेर आउनुभयो । तर, टिक्न सक्नु भएन । महन्थ ठाकुर, विजयकुमार गच्छदार सबै उपेन्द्र यादवभन्दा वरिष्ठ हुन् । तर, उनीहरूलाई पार्टी छोडेर जान बाध्य पारियो । हामीहरू सुधार होला भनेर बस्यौं । तर भएन । त्यही भएर यो निर्णय लिनुपरेको हो ।
एमालेसँग एकीकरण गर्ने कुरा पनि चलिरहेको छ नि ?
एमालेसँग किन एकीकरण गर्नुपर्‍यो ? हामीले एकीकरण गर्ने हो भने सोझै गर्न सकिन्थ्यो । कानुनमा व्यवस्था छँदै थियो । हाम्रो पार्टीको नाम छ, एजेन्डा र विधान छ । हामीलाई एकीकरण गर्न आवश्यक छैन । हामी आफ्नै मुद्दा लिएर जान्छौं । पार्टी बनाउँछौं ।

मुख्य पृष्ठ

नेपालका लक्ष्य पूरा गर्न सघाउने जापानको प्रतिबद्धता

- जगदीश्वर पाण्डे

(काठमाडौं)
नेपाल–जापान द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नेमा जोड दिँदै एकदिने भ्रमणका लागि आइतबार आएकी जापानी विदेशमन्त्री योको कामीकावा स्वदेश फर्केकी छन् । उनले आर्थिक विकासमा नेपालले राखेको लक्ष्य पूरा गर्न जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटपछि उनले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय छलफलसमेत गरेकी थिइन् ।
‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्ने विषयमा कुरा भयो,’ उपप्रधानमन्त्री श्रेष्ठले कान्तिपुरसँग भने, ‘बहुपक्षीय फोरमहरूमा
दुई मुलुकले एकअर्कालाई सहयोग गर्ने विषयमा पनि कुराकानी भयो ।’ राष्ट्रसंघको पुनःसंरचनाको विषयका साथै राष्ट्रसंघमा उम्मेदवारी दिँदा एकले अर्कोलाई सहयोग गर्नेबारे पनि छलफल भएको उनले बताए । परराष्ट्र प्रवक्ता अमृतकुमार राईले भेटवार्तामा नेपाल र जापान सम्बन्धको विविध पक्षलगायत विषयमा छलफल भएको जानकारी दिए । उनले अन्य कुनै पनि सम्झौता र समझदारी नभएको प्रस्ट पारे ।

विदेशमन्त्री योकोले प्रधानमन्त्री दाहालसँग भने सिंहदरबारस्थित कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी थिइन् । त्यसक्रममा द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।
‘भेटमा प्रधानमन्त्रीले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो, उहाँले जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो,’ सापकोटाले भने, ‘नेपाल र जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेमा जोड दिँदै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने विश्वास पनि व्यक्त गर्नुभयो ।’
त्यस अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको बताइन् । उनले दुई देशबीच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिएको सापकोटाले जानकारी दिए । उनले भने, ‘उहाँ (जापानी विदेशमन्त्री) ले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’
उपप्रधानमन्त्री श्रेष्ठ र प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेपछि जापानी विदेशमन्त्री योको राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेटवार्ताका लागि गएकी थिइन् । उनले राष्ट्रपति पौडेलसँग नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गरे । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले कार्बन उत्सजन गर्ने विकसित मुलुकले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखि नै नेपाल र जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको बताए । उनले दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैं जापानको उच्च सद्भाव महसुस गरेको उल्लेख गरे । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको पनि राष्ट्रपतिले उल्लेख गरे ।
नेपाल र जापानबीच आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास पौडेलले राखेका थिए । ‘जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटक आउने विश्वास पनि व्यक्त गर्नुभएको थियो,’ भेटपछि राष्ट्रपतिको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
भेटमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गरिन् । उनले नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताइन् । उनले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताइन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।
विदेशमन्त्री योकोले नेपाल आएलगत्तै वसन्तपुर दरबार क्षेत्रको भ्रमण गरेकी थिइन् । नेपाल आउनुअघि विदेशमन्त्री योकोले श्रीलंकाको दुईदिने भ्रमण गरेकी थिइन । उनी अफ्रिकी मुलुक मादागास्कर, आइभोरी कोस्ट र नाइजेरिया हुँदै युरोपेली देश फ्रान्स पुगेर एसियाको श्रीलंका हुँदै नेपाल आएकी हुन् ।
जापानबाट पछिल्लो पटक विदेश राज्यमन्त्री ताकेई सुन्सुके २०७९ मंसिरमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न नेपाल आएका थिए । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर दुई मुलुकबीचको सम्बन्ध त्यसको झन्डै ५४ वर्षअघिदेखि नै सुरुआत भएको हो । सन् १९०२ मा काठमाडौंबाट टोकियोतर्फ ८ जना विद्यार्थी पढ्नका लागि पहिलो पटक गएका थिए । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा उनीहरू टोकियो पुगेका हुन् ।

मुख्य पृष्ठ

आगलागी बढ्दै, छैन दमकल

- शिव पुरी

(रौतहट)
रौतहटको देवाहीगोनाही नगरपालिका–१ करुनियामा यही वैशाख ११ मा आगलागी हुँदा ७ घर नष्ट भए । समयमै
दमकल नआउँदा स्थानीयको लाखौंको क्षति भयो । गौर नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा साँझ मात्र आगो नियन्त्रणमा लिइएको थियो ।
डिभिजन वन कार्यालयअन्तर्गतको गैंडाटार सबडिभिजनको घाटगद्दीमा गत चैत १९ मा आगलागी हुँदा सबै काठ नष्ट भए । आगो निभाउन जिल्लाभित्रका गौर र चन्द्रपुर नगरपालिकाका अलावा सर्लाहीको हरिवन, बाराको निजगढबाट दमकल बोलाउनुपरेको वन कर्मचारीले बताए । पछिल्लो समय तराई मधेशका विभिन्न जिल्लामा आगलागीका घटना बढेका छन् । आगलागीमा बस्ती सखाप भएका छन् । रौतहट पनि आगलागीको जोखिममा छ, तर पालिकाहरू दमकलको व्यवस्था गर्न उदासीन देखिएका छन् । जिल्ला प्रशासन कार्यालयले बेलाबेलामा पालिका प्रमुखहरूलाई बोलाएर दमकल किन्न निर्णय गराए पनि कार्यान्वयन हुन सकेको छैन ।
जिल्लाका १८ पालिकामध्ये गौर र चन्द्रपुर नगरपालिकासँग मात्र दमकल छ । सानाठूला आगलागीका घटनामा कतिपय पालिकाले छिमेकी जिल्ला बारा र सर्लाहीबाट दमकल मगाउने गरेका छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको पालामा २०७९ मंसिर १५ मा १८ वटै पालिकाका नगर प्रमुखलाई प्रशासनले एक/एकवटा दमकलको व्यवस्था मिलाउन निर्णय गराएको थियो । उक्त बैठकमा ईशनाथ, बृन्दावन, बौधीमाई, गुजरा, चन्द्रपुर र गौरका नगर प्रमुखहरू उपस्थित थिए । पालिकाले दमकल किन्न चासो दिएनन् ।

२०७९ चैत २४ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि पालिका प्रमुखहरूलाई बोलाएर
यस्तै अर्को निर्णय गराए । प्रशासनका नायब सुब्बा रामनरेश साहका अनुसार त्यतिबेला सबै पालिकाले समन्वय गरी आगामी आर्थिक वर्षको बजेटमा दमकल किन्न बजेट
छुट्याउने निर्णय भएको थियो । ‘नगर प्रमुखहरू आएर हुन्छ, बजेटमा पार्छौं भनेर निर्णयमा हस्ताक्षरसमेत गरेर जानुभयो,’ उनले भने, ‘अहिलेसम्म दुईवटा बाहेक कुनै पालिकाले दमकल किनेका छैनन् ।’
विपद् व्यवस्थापनको छलफलमा तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एउटै पालिकाले नसके अरूसँग मिलेर किन्न अनुरोध गरेका थिए । तर उनको कुरासमेत पालिकाका प्रमुखहरूले सुनेनन् । त्यतिबेला परोहाका नगर प्रमुख शेख वकिलले छिमेकी राजपुर, इशनाथ, यमुनामाई र बौधीमाई नगरपालिकासँग मिलेर दमकल किन्ने विषयमा छलफल भएको बताए । ‘एउटामात्र पालिकाले किन्दा कर्मचारीलगायतको खर्च धान्न गाह्रो हुन्छ,’ उनले भने, ‘पाँचवटा नगरपालिका मिले सहजै खरिद गर्न सकिन्छ र कर्मचारी राख्नसमेत समस्या हुँदैन ।’
गौर र चन्द्रपुरको दूरी ४२ किलोमिटर छ । यसको बीचमा पर्ने कुनै पनि पालिकासँग दमकल छैन । जिल्लाको पश्चिम विजयपुर, पूर्वी समनपुर, धरमपुर लगायतको क्षेत्रमा आगलागीका घटना भएमा समस्या हुने भन्दै प्रशासनले पालिकाको ध्यानाकर्षण गराउँदै आएको छ । गौर नगरपालिका प्रमुख शम्भु साहले एउटा मात्र दमकलले जिल्लाभरि थेग्न नसक्ने बताए । बृन्दावनका नगर प्रमुख विनोद पटेल बजेट अभावले वारुणयन्त्र खरिद गर्न नसकेको बताउँछन् । ‘हामीसित आन्तरिक आम्दानी पनि त्यति छैन । नदीजन्य वस्तुको ठेक्का लगाउन पाइएन,’ उनले भने, ‘दमकल एकदमै आवश्यक छ, तर बजेटकै कारणले चुप बसेका छौं ।’

 

Page 2
म्यागेजिन

अख्तियारका सचिवको यात्रा नासुदेखि सहसचिवमा खुला प्रतिस्पर्धा

- घनश्याम खड्का

(काठमाडौं)
अंग्रेजीमा एउटा पदावली छ– ‘हिस्टोरिकल एम्नेसिया’ अर्थात् ‘ऐतिहासिक विस्मरण’ । कुनै समय जीवनमरणको घटना समयक्रममा केही होइनजस्तो गरी बिर्सने मनुष्यको आम बानीलाई जनाउन प्रयोग गरिने यो पदावलीमा हाम्रा वैयक्तिक अनुभवको पनि पुट पाइन्छ । जस्तो कि, ९ वर्षअघि महाभूकम्प जाँदा हामी भुल्नै नसक्ने त्रासदीको क्षणमा पुग्यौं भन्ने ठान्थ्यौं । अग्ला घर बनाएकामा पछुताएका थियौं । र, हेर्दाहेर्दै सभ्यता नै बढारिएलाजसरी बस्तीका घरहरू धूलोमा मिलेपछि ‘मरिलानु के रहेछ र ?’ भनेर जीवनको क्षणभंगुरताका बारेमा घोत्लिएका थियौं । तर, समयक्रममा यो सब विस्मृतिको गर्तमा पुग्यो ।
९ वर्षअघि गएको भूकम्पलाई कसरी सम्झनुहुन्छ ? भ्रष्टाचारका फाइलहरू केलाउँदैमा बेफुर्सदी बनेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालले भुसुक्कै बिर्सेका थिए, त्यो दिन । जबकि, भूकम्प जाँदाका बखत विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर अन्तर्राष्ट्रिय सहायता टोलीका लागि नेपालका एक मात्र ‘फोकल पर्सन’ थिए । उनको व्यस्तता कतिसम्म थियो भने दुई टेक्टोनिक प्लेट जुधेर यो हिमाली देशमा हाहाकार मच्चाएपछि उद्धार तथा खोजी र प्रतिकार्य व्यवस्थापनमा लगातार ७ दिनसम्म खटिन पर्दा सुत्ने अवकाशसम्म पनि पाएका थिएनन् उनले । त्यतिबेला उनलाई लागेको थियो, यो विपद् र यसको व्यवस्थापनका क्रममा झेल्नुपरेको बाधा अवरोध जीवनमा भुल्न नसक्ने अनुभवका रूपमा रहनेछ । हुन त, अनुभव र सम्झनाहरू अहिले पनि दुरुस्त मनको कुनै अन्तरकुन्तरमा गएर बसेको छ । तर, त्यो कतिसम्म तल पुगेको छ भने, वैशाख १२ आएर दिनभरि लम्पसार पर्दा पनि कसैले नसम्झाई त्यो बाहिर आउँदैन ।
‘अहो, हो त नि, त्यो दिन आजैको मितिमा आएको थियो है !’ वैशाख १२ गते अख्तियारस्थित उनकै कार्यकक्षमा कान्तिपुरसँगको गफगाफमा भूकम्पको प्रसंग उठेपछि दंगाल एकाएक चकित झैं भए, ‘कति चाँडो बिर्सिइएछ त्यत्रो विपद्लाई !’ एक कर्मचारीका रूपमा अनेकन मन्त्रालय र अनेकन जिम्मेवारी पाएका रामेश्वरलाई भूकम्पका बेला गरेको विपद् व्यवस्थापनको काम भने जीवनको दुर्लभ अनुभव मान्छन् जो फेरि बटुलौं भनेर मिल्दैन । सय वर्ष वरपरको अन्तरालमा ठूलो भूकम्पले कुपित हुने यो नेपालमा सहस्राब्दी लागेपछि नै कुनै डरलाग्दो प्रकोपको आशंका गरिन थालिएको थियो । जाइकाले २००२ मा गरेको एउटा अध्ययनको त प्रस्ट निष्कर्ष थियो– आसपासलाई केन्द्र बनाएर नेपालमा जुनसुकै बेला ठूलो भुइँचालो जान सक्छ ।
आकलन के गरिएको थियो भने, भुइँचालोमा अधिकांश भवनहरू भत्किनेछन् । जोखिमको त्यस सूचीमा सिंहदरबारका मन्त्रालय र अरू सरकारी भवनहरू पनि समावेश थिए । ‘यस्तो
आपत्कालीन अवस्थामा उद्धारका लागि राज्यलाई काम गर्ने सुरक्षित ठाउँ चाहिन्छ भनेर सिंहदरबारभित्र एउटा सबै सुविधायुक्त प्रिफ्याब हाउस बनाउने निर्णयमा सरकार पुग्यो,’ दंगालले गृह मन्त्रालयको विपद् व्यवस्थापन शाखा सम्हाल्दाको समयबारे भन्छन्, ‘म विपद् व्यवस्थापन शाखाको प्रमुख भएर जानु पनि, यूएनडीपीको सहयोगमा भवन बन्न सुरु हुनु पनि एकैपटकजस्तो भयो ।’
यो थियो २०६७ सालतिरको कुरा । ठूलो भुइँचालो आउँछ र तत्काल अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ भन्ने पूर्वानुमानका साथ बनाइएको त्यस घरको नाम राखिएको थियो– राष्ट्रिय कार्यसञ्चालन केन्द्र । विकसित देशहरूले विपद्का बेला काम गर्न सुरक्षित तवरमा बनाउने गरेको ‘नेसनल इमर्जेन्सी अपरेसन सेन्टर’ अब नेपालमा पनि भयो भनेर भर्खरै विपद् व्यवस्थापनमा काम गर्न थालेका रामेश्वर खुसी थिए । नेपालभर जुनसुकै विपद् आए पनि उद्धार गर्नेदेखि राहत दिनेसम्मको काम दंगालअन्तर्गतकै शाखाले हेर्थ्यो । तीन वर्ष विपद् व्यवस्थापन शाखा हाँक्दा दंगालले
विपद्का बेला के कसरी उद्धार तथा प्रतिकार्य गर्ने भन्ने प्रोटोकल निर्माणदेखि यसको तयारीका अनेकन योजनाहरू बनाउने जिम्मेवारी निर्वाह गरे ।
संयोग कस्तो भने, पाँच वर्षपछि त्यही महाशाखाको प्रमुख भएर रामेश्वर गृह मन्त्रालयमा पुगेका बेला देशमा ठूलो भूकम्प गयो । यो आपत्मा कसरी अघि बढ्नुपर्छ र अन्तर्राष्ट्रिय समन्वय के कसरी गर्नुपर्छ भन्ने जानकारी र अधिकार रामेश्वरसँग जति थियो, अरू कसैसँग पनि थिएन । शनिबारको दिन हुनाले रामेश्वर घरमै थिए । भुइँचालोले सातो लिनेबित्तिकै उनी लगाइराखेको सामान्य घरेलु लुगा र चप्पलमै सिंहदरबारस्थित विपद् केन्द्रतिर दौडिए । बाटोमा आउँदा उनले भक्तपुर सहर पूरै धूलामा हराएको देखें, कौशलटारमा त सडक नै भास्सिएको थियो । ठाउँ–ठाउँमा घरहरू लडेर मानिस किच्चिएको भन्ने होहल्ला थियो भने खुला ठाउँको खोजीमा मानिसहरू आत्तिएको भावमुद्रामा कमिलासरी यताउता गरिरहेका थिए ।
रामेश्वर कोलाहलमा डराएको सहरको अस्तव्यस्ततालाई पार गर्दै कसैगरी इमर्जेन्सी अपरेसन सेन्टर पुगे । फोन कतै लागिरहेको थिएन । यस्तै अवस्था आउला भनेर विपद् केन्द्रमा स्याटलाइट फोन सेट राखिएको थियो । त्यसैको सहायताले अन्तर्राष्ट्रिय समन्वय गर्न उनलाई निकै सहज भयो । ‘त्यहीँ संसारभरबाट फोन आउन थाले,’ उद्धारका लागि अन्तर्राष्ट्रिय निकाय र नेपाल सरकारबीचको तत्कालीन ‘फोकल पर्सन’ रामेश्वर भन्छन्, ‘हेर्दाहेर्दै ४०/५० देशबाट खोजी तथा उद्धार टोलीहरू नेपालका लागि रवाना भए ।’
ठूलो खालको भुइँचालो, सुनामी वा कुनै यस्तै विपद् पृथ्वीको जुन कुनामा परे पनि मानवीय सहायताका लागि सबभन्दा पहिले तयार हुने पंक्ति ‘इन्टरनेसनल सर्च एन्ड रेस्क्यु ग्रुप’ सँग निरन्तर फोन संवादमा बस्दाबस्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम, गृह सचिव सूर्य सिलवाललगायतको टिम पनि आपत्का बेला काम लाग्ला भनेर बनाइएको त्यही विपद् कार्य सञ्चालन केन्द्रमा आइपुगे । किनभने, अनुमान गरेअनुसारै सिंहदरबारका भवनहरू चर्किएका र हल्लिरहेका थिए ।
आवास र आपत्कालका लागि खानेकुराको बन्दोबस्तीसहित बनाइएको त्यही प्रिफ्याब हाउसमा बसेर अन्तर्राष्ट्रिय टोलीलाई दंगालले दिनरात नभनी परिचालन गरे । कुरा गर्दागर्दा फोन सेट तातेर पड्केलाजस्तो र आवाज सुन्दासुन्दा कानको जाली फुट्लाजस्तो अनुभवले उनलाई निकै गालेको थियो । तर, सबतिर भएको बर्बादीबाट देशलाई जसरी पनि निकाल्नुपर्छ भन्ने भावले कैयन् दिनको अनिद्रालाई जितेर काममा खट्न सकेको अनुभव उनका लागि खास थियो । कहाँबाट को आइरहेको छ र उद्धारको काम के कसरी भइरहेको छ भनेर उनले गृह सचिवलाई, गृह सचिवले गृहमन्त्रीलाई, गृहमन्त्रीले प्रधानमन्त्रीलाई र प्रधानमन्त्रीले संविधानसभाका सदस्यलाई जनाउ दिनुपर्थ्यो ।
सिंहदरबारस्थित संसदीय सचिवालयको काठेघरमा सबै दलका नेतासहितको बैठक बस्ने भयो जहाँ सरकारले के गरिरहेको छ भन्ने जानकारी मागिएको थियो । त्यसका लागि प्रधानमन्त्री कोइरालाले गृहमन्त्री वामदेवलाई अघि सारे भने गृहमन्त्री गौतमले गृह सचिव सिलवाललाई । गृह सचिवले चाहिँ विपद् महाशाखाका प्रमुख दंगाललाई अघि सारे । गृह सचिवले फोन गरेर संसद्मा जानुपर्‍यो भनेर बोलाउँदा कैयन्
दिनका अनिँदो दंगाल आफ्नो निर्वाचन क्षेत्रमा पर्ने साँखुवासीका लागि पाल माग्न आएका पूर्वप्रधानमन्त्री माधव नेपाललाई कसरी चित्त बुझाउने भन्ने कसरतमा भिडिरहेका थिए । नभएको पाल दिन सकिन भन्दा माधव नेपाल रिसाउने अवस्था थियो । तर, दिनका लागि पाल थिएन । के गरौं कसो गरौं भइरहेका बेला सिलवालको फोन आएपछि दंगाल सर्वदलीय बैठकतिर कुदिहाले ।
जताततैको अस्तव्यस्तता र लगातारको परकम्पको त्यस समयमा सरकारले जति काम गरे पनि कम देखिन्थ्यो । त्यसैले, जनआक्रोश सरकारतिर बढ्नु स्वाभाविकै थियो । त्यही जनआक्रोश बोकेर बैठकमा आएका नेताहरू प्रधानमन्त्री सुशील कोइरालाको लोसो जवाफदेखि क्रुद्ध हुने खतरा विद्यमान थियो । ‘त्यहाँ सबले प्रधानमन्त्रीलाई सरकारले के गरिरहेको छ भनेर ठाडठाडो प्रश्न गरे,’ दंगाल सम्झन्छन्, ‘अनि प्रधानमन्त्रीले मतिर हेरेर के कसो भइरहेको छ, सुनाउनुहोस् भन्नुभयो ।’ दंगालको दायाँबायाँ माओवादी नेताहरू पम्फा भुसाल र नारायणकाजी श्रेष्ठ थिए । उनले झन्डै ४५ देशबाट खोजी तथा उद्धार टोली नेपाल आएर काम गरिरहेको सूचना दिए । अनि थपे– अब हामीलाई थप टोली चाहिँदैन ।
७२ घण्टाभित्र उद्धार गर्न सके मानिसहरूलाई जीवितै फेला पार्न सकिने आशा हुनाले त्यस अवधिमा उद्धार तथा खोजीको कार्यलाई ज्यादा सघनताका साथ लैजाने र पछि राहत तथा पुनःस्थापनाको काम चालु गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन नै छ विपद्मा । यही चलनलाई सम्झेर दंगालले सर्च एन्ड रेस्क्यु टिमलाई रोक्न पर्‍यो भनी प्रस्ताव गर्दा नेता गणहरूबाट तीव्र विरोध भयो । ‘अन्तर्राष्ट्रिय सहयोग चाहिने ठाउँमा उल्टै रोक्नुपर्छ किन भनेको भनेर उहाँहरू कराउनुभयो,’ दंगाल भन्छन्, ‘मैले उद्धार टोली होइन, अब हामीलाई राहत र पुनःस्थापनाका लागि टोली चाहिन्छ भन्ने बुझाउन कम्ता गाह्रो भएन ।’
धेरै देशका टोलीहरूलाई लामो समय राख्दा राहत वितरणदेखि पुनःस्थापनाका अरू काम गर्न बाधा परे तापनि सर्च एन्ड रेस्क्यु टिमका मानिसलाई फिर्ता जाऊ भन्ने आँट प्रधानमन्त्री कोइरालाले गरेनन् । न यस्तो गर भनेर उनले कसैलाई आदेश नै दिए । ‘हाम्रो हवाई संयन्त्र र सबै होटलहरू रेस्क्यु टिमले नै भरिएको थियो, राहत र पुनःस्थापनाको काममा आउनेहरूलाई सहज बनाउन उनीहरूलाई फर्काउनै पर्थ्यो,’ दंगालले भने, ‘तर अन्तर्राष्ट्रिय सहायता रोकेको आरोप लाग्ला भनेर प्रधानमन्त्री यो निर्णय लिन तयार हुनुभएन, बाध्य भएर मैले मन्त्रिपरिषद्लाई खबरै नगरी उनीहरूलाई फर्कन पत्र पठाएँ ।’
त्यसपछि उनलाई राहत तथा पुनःस्थापनाका टोलीहरू परिचालन गर्न केही सजिलो भयो । विपद् व्यवस्थापनको उनको यो अनुभव सुन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा दंगाललाई बोलाइन थालियो । फिलिपिन्सदेखि आबुधाबीसम्म पुगेर उनले भुइँचालोमा आफ्नो नेतृत्वको प्रतिकार्यात्मक अनुभव सुनाएका छन् । जापानदेखि अमेरिकासम्म पुगेर विपद् व्यवस्थापनका सम्बन्धमा भएका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिएका छन् । एक पटक, अमेरिकाको हवाईमा भएको सम्मेलनमा नेपालले भूकम्पको व्यवस्थापन कसरी गरेको थियो भनेर एक भिडियो रिपोर्ट देखाइयो । भिडियोमा दंगालसँग गरिएको संवाद, विपद् प्रतिकार्यमा सरकारको रणनीति र सरकारले राहत र व्यवस्थापनका लागि ‘सर्च एन्ड रेस्क्यु टिम’ लाई हटाउन गरेका निर्णयहरूसँग सम्बन्धित दृश्यहरू देखाइयो ।
‘त्यसपछि म एकाएक सहभागीहरूको नजरमा परें,’ उनले भने, ‘मैले घर जानु भनेर पठाएका धेरै मानिसहरू त त्यहीँ आएका रहेछन्, पछि भेटघाट हुँदा रमाइलो लाग्यो ।’ भक्तपुरको सुडालस्थित चरेली गाउँको एक किसान परिवारमा जन्मेहुर्केका रामेश्वर विपद् व्यवस्थापनदेखि अख्तियारमा आएर भ्रष्टाचारको अनुसन्धान गर्नेसम्मको भूमिकामा आइपुग्दा धेरै घुम्ती पार गरेका छन् । उपत्यकाको ठाउँ भए पनि चरेलीदेखि उनी पढ्ने कमलविनायकस्थित सरस्वती माविमा आउँदा दुई घण्टा
हिँड्नुपर्थ्यो । एसएलसी पास गरेपछि शंकरदेव कलेजमा आउन दुई घण्टाको पैदलपछि थप एक घण्टाको बस यात्रा पनि थपियो । यसरी, कलेजदेखि घरको यात्रामा हरेक दिन ६–७ घण्टाको यात्राले हत्तु हैरान हुनुपर्दाको सास्तीले होला, धेरैले पढाइ छाड्थे । रामेश्वरले भने जति नै हैरानी भए पनि पढाइ छाडेनन् ।
‘तर यही पाराले पढाइ जारी राख्नचाहिँ हम्मे थियो,’ रामेश्वर सम्झन्छन्, ‘केही सजिलो होला भनेर मैले पढ्दापढ्दै जागिर खाने विचार गरें ।’ २० वर्षको उमेरमा उनले २०५० सालमा दुर्गम विकास समितिको लेखापालको जागिर पाए । जागिरका लागि उनी संखुवासभा जानुपर्ने भयो । राजधानीबाट बाहिर ननिस्केका उनी संखुवासभा हुनसम्मको विकट होला भन्ने ठानेर सिरक–डस्नादेखि दन्तमञ्जन र चामलसहितको गुन्टा कसेर घरबाट निक्लेका थिए । निक्लँदा विदेशै जान लागेजस्तो गरी बाआमाले रातो टीका र फूलको माला लगाइदिएका थिए । ‘डोमेस्टिक फ्लाइटमा कसैले पनि माला लगाएका थिएनन्, मेरो माला देखेर सब जना हाँस्न थाले, लाजले मैले त्यो फुकालेर विमानस्थलमै कतै फालिदिएँ,’ रामेश्वर बितेका दिन सम्झन्छन्, ‘तुम्लिङटार विमानस्थलमा ओर्लेर सदरमुकाम खाँदबारी पुग्दा गज्जबको बजार भेटेपछि मलाई बन्दोबस्तीका सामानहरू ल्याएकामा हाँसो उठ्यो ।’
खाँदबारी पुगेपछि रामेश्वरले निजामती प्रशासनका थुप्रै कर्मचारीहरू साथी बनाए । लोक सेवा दिएर जागिर खाने काइदाका बारेमा थाहा पाए । अनि संखुवासभामै बस्दाबस्दै २०५४ मा नायब सुब्बामा नाम निकालेर निजामती सेवा प्रवेश गरे । त्यसको दुई वर्षपछि उनले प्रशासन, लेखा र संसद् सेवामा शाखा अधिकृतको लिखित परीक्षामा नाम निकाले । उनले प्रशासन रोजे । त्यसपछि अवसरहरूले उनलाई पछ्याउँदै आए । शाखा अधिकृत भएको ३ वर्षमा नर्वेको बर्गेन विश्वविद्यालयमा उनले एमफिल गर्ने छात्रवृत्ति पाए, फर्केर आएलगत्तै उपसचिवको खुला प्रतिस्पर्धामा नाम निकाले । ३३ वर्षको उमेरमा नै उपसचिव भएपछि उनले केही समय लोक सेवा दिएनन् । तर, सरकारले केही समय उनलाई जगेडामा राख्यो । त्यसदेखि झोंक्किएका उनी सहसचिवको परीक्षामा सामेल भए । लिखितमा नाम निकाले पनि उनलाई लोक सेवाले ठाडठाडो उत्तर दिएको भनेर अन्तर्वार्तामा फाल्यो ।
‘फेल गरे गर्छन् तर म रिझाउनका लागि चाप्लुसी शैलीमा प्रस्तुत हुन्न भनेर आफ्नो मौलिकता बदलिन,’ रामेश्वर भन्छन्, ‘चार पटकसम्म नाम निकाले, तीन पटक अन्तर्वार्तामा फालिएँ ।’ कयोदेवी यमी आयोगको अध्यक्ष थिइन् त्यतिबेला । यमीसहित आयोगका सबै पदाधिकारी अन्तर्वार्तामा बस्थे । ‘चौथो पटकचाहिँ उनीहरूले मलाई लौ भैगो, तपाईंलाई
कति फाल्नु भनेर सहसचिवमा पास गरिदिए,’ दंगाल भन्छन्, ‘यो पनि एक रमाइलो अनुभव रह्यो मेरा लागि ।’ कसैलाई गुरु थापेर लोक सेवाको तयारी पनि नगर्ने र रटिरटाउ उत्तर पनि नदिने आफ्नो स्वभावले कतिपय ठाउँमा सजिलो पनि पारेको उनी ठान्छन् ।
पन्ध्र महिनादेखि अख्तियारको सचिवका हैसियतले त्यहाँको प्रशासन सम्हाल्दै आएका दंगाल सहसचिव हुँदा अख्तियारमै प्रवक्ता पनि भएका थिए । विपद् व्यवस्थापन महाशाखामा बस्दा देशभर विपदै विपद्को सामना गरेजस्तै, अख्तियारमा बसेपछि आएका फाइलहरू र भएका अनुसन्धानले उनी राज्य संयन्त्रमा भ्रष्टाचारै भ्रष्टाचार भएको देखिरहेका छन् । सार्वजनिक प्रशासन र नागिरक, नागरिक र राजनीतिज्ञ र राजनीतिज्ञ र प्रशासकबीचको आपसी सम्बन्ध र विश्वासमा ठूलो खाडल देखिएको उनी ठान्छन् ।
‘विधि, पद्धति र प्रक्रियाबाट भन्दा बिचौलिया दलाल र स्वार्थ समूहमार्फत राजनीतिज्ञसँग अनुचित साँठगाँठ गरी व्यक्तिगत फाइदा हत्याउन जस्तोसुकै काम पनि गर्न तयार हुने गैरव्यावसायिक कर्मचारीतन्त्र र आफ्नो स्वार्थका लागि तिनै कर्मचारी परिचालन गरी निश्चित वर्गको हितमा निर्णय गराउने र अन्तिम जिम्मेवारी कर्मचारीतन्त्रकै थाप्लोमा पन्छाउने राजनीतिज्ञको सार्वजनिक प्रशासनमा बोलवाला छ,’ दंगाल भन्छन् । नियम, कानुन र व्यावसायिक मर्यादाभित्र कार्य गर्दा पनि प्रणालीबाट नै अवसर पाइन्छ भनेर कुरेर बस्ने कर्मचारीहरू निराश हुने गरेको उनी बताउँछन् । सार्वजनिक प्रशासनमा यिनै बिचौलिया वर्गको हालीमुहाली रहेको अनुभव छ । ‘व्यावसायिक, इमानदार कर्मचारी वर्गले आफ्नो क्षमता र योग्यताअनुसार काम गर्ने अवसर पाउने अवस्थाको सिर्जना हुँदैन तबसम्म हाम्रो सार्वजनिक प्रशासनले अग्रगति लिन सक्दैन,’ निजामती सेवामा उनको तीन दशक लामो अनुभवले भन्छ, ‘आम जनताले पनि यसबाट प्रतिफल लिन सक्दैनन् ।’

Page 3
Page 4
युवा ग्यालरी

बेलायत–फ्रान्स सुरुङ मार्ग

- कान्तिपुर संवाददाता


सन् १९९४ मा आजकै दिन (मे ६) मा बेलायत र फ्रान्स जोड्ने सुरुङ मार्ग खुला गरिएको थियो । ‘च्यानल टनेल’ नाम दिइएको सुरुङ मार्ग बेलायती महारानी एलिजाबेथ द्वितीय र फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले उद्घाटन गरेका थिए ।
बेलायतको फोल्कस्टोन सहरदेखि उत्तरी फ्रान्सको क्लाइस सहर जोड्ने मार्ग ५०.४६ किमि लामो छ । त्यसमध्ये ३७.८ किमि समुद्रमुनि रहेको छ । यो समुद्रमुनि निर्मित सबैभन्दा लामो सुरुङ हो । यस मार्गमा सञ्चालन हुने रेलमार्फत वार्षिक करिब एक करोड यात्रुले बेलायत र फ्रान्सबीच आवतजावत गर्ने गर्छन् ।
कार तथा बसहरू सञ्चालन गर्ने उद्देश्यले बनाइएको भए पनि सुरुङ मार्गमा हाल सुरक्षाका कारण रेल मात्रै गुड्छन् । मार्गमा गुड्ने रेलका लागि १६० किमि प्रतिघण्टाको गति तोकिएको छ । त्यसका आधारमा फोल्कस्टोनदेखि क्लाइस पुग्न ३५ मिनेट हाराहारी समय लाग्छ ।

युवा ग्यालरी

मिस नेपाल इटहरी अडिसन मंगलबार

- कान्तिपुर संवाददाता

सुनसरी (कास)– मिस नेपालको इटहरीमा अडिसन मंगलबार हुने भएको छ । नेपालभरिका सुन्दरीहरू सहभागी गराउने गरी कोशी प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न इटहरीमा अडिसन हुने आयोजक द हिडन ट्रेजरले जनाएको छ । आयोजक हिडन ट्रेजरले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले इटहरीमा अडिसन गर्न लागिएको जनाएको छ ।
यस वर्षको मिस नेपाल प्रतियोगितामा भाग लिन न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्नेछन् । आवेदनका लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ । देशका प्रमुख सहरमा अडिसन सकिएपछि फाइनल अडिसन जेठ ५ गते काठमाडौंमा हुनेछ । त्यहाँबाट छानिएका प्रतियोगीलाई ग्रान्ड फिनालेका लागि प्रशिक्षण दिइने बताइएको छ । आयोजकका अनुसार फिनाले साउन १९ गते गोदावरीमा हुनेछ । यस वर्षको प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन मुख्य विजेता घोषणा गरिनेछ ।

युवा ग्यालरी

तीन सयलाई आउट गर्ने माही

- हिमेश

(काठमाडौं)
अन्तर्राष्ट्रिय क्रिकेटबाट महेन्द्रसिंह धोनीले संन्यास लिएको धेरै भइसक्यो । अब त उनी ४२ वर्षका पनि भइसके । अझै आईपीएल खेलिरहेका छन्, चेन्नाई सुपर किंग्सका लागि । जतिजति बेला उनी ब्याटिङका लागि ओर्लिन्छन्, जहाँसुकै खेलेको खेल भए पनि पूरा रंगशाला गुञ्जायमान हुन्छ । सबैले भनिरहेका हुन्छन्– माही, माही । यो कति साह्रो चर्को हुन्छ भने एउटा घटनाले दर्शाउँछ ।
एक महिना भयो, अहिले चलिरहेको आईपीएल २०२४ मा चेन्नाईले कोलकाता नाइट राइडर्सको सामना गरेको । खेल भएको थियो, चेन्नाईको प्रसिद्ध एमए चिदम्बरम् स्टेडियममा । दोस्रोपल्ट ब्याटिङ गरेको चेन्नाईलाई खेल जित्न अन्तिम १९ बलमा तीन रन चाहिएको थियो । ठीक त्यही बेला धोनी क्रिजमा ओर्ले । अब के चाहियो र ? पूरा रंगशालामा खुसीयाली छाएको थियो । आवाज पनि कति साह्रो निस्केको थियो भने फिल्डिङ गरिरहेका आन्द्रे रसेलले आफ्ना दुवै कान थुने ।
विश्व क्रिकेटका लागि यो निकै ‘आइकोनिक’ दृश्य थियो । सायद रसेल दर्शकले धोनीप्रति देखाएको सम्मानबाट आफ्नो खेल प्रभावित नहोस् भन्न चाहन्थे । कारण जस्तै होस्, धोनी अझै पनि उत्तिकै लोकप्रिय छन् । भारतीय टिममा अहिले जति खेलाडी छन्, तीभन्दा पनि धेरै बढी । ब्याटिङकै कुरा गर्ने हो भने यसपल्ट धोनी ‘क्यामिओ’ भूमिकामा रमाइरहेका छन् । उनले ठूल्ठूला इनिङ्स खेलिरहेका छैनन् । खासमा उनी त्यस जिम्मेवारीमै छैनन् ।
अहिलेसम्म चेन्नाईले खेलेका १० खेलमा १ सय १० को औसतले रन बनाइरहेका छन् । यसपल्टको आईपीएलमा उनले आफ्नो सय रन पूरा गरिसकेका छन् । प्रायः इनिङ्सको अन्त्यतिर आउँछन् र नटआउट पनि रहन्छन् । अझ रमाइलो त के भने यसपल्ट उनी दुईपल्ट मात्र आउट भएका छन्, त्यो पनि रनटआउट । पञ्जाव किंग्सविरुद्धको खेलमा उनी आउट भएका थिए । नत्र अनुमान चलिरहेको थियो, कतै यो सिजनमा उनी आउट नै नहुने त होइनन् ?
आईपीएल सुरु भएदेखि लगातार खेलिरहेका धोनीले यसपल्ट चेन्नाईको नेतृत्व पनि गरिरहेका छैनन् । सिजनको सुरुमै समाचार आएको थियो, उनी चेन्नाईको कप्तान रहने छैनन् । बरु नेतृत्व ऋतुराज गायकवाडले गर्नेछन् । पोहोरको सिजनमा पनि सुरुमा उनी कप्तान थिएनन्, तर टिमको खराब प्रदर्शनपछि उनले टिम सम्हालेका थिए र टिमले उपाधि पनि जित्यो । उनको विकेटकिपिङमा भने अझै पुरानो झलक देख्न पाइन्छ । एक महिनाअगाडि मात्रै उनले एउटा दुर्लभ कीर्तिमान बनाए ।
दिल्ली क्यापिटल्सविरुद्ध विशाखापटनमा भएको खेलमा आफ्नो तीन सयौं सिकार बनाए धोनीले । ट्वान्टी–२० क्रिकेटमा तीन सयौं आउट रच्ने पहिलो विकेटकिपर बने उनी । धोनी अझै पनि विकेटपछाडि उत्तिकै फुर्तिला देखिन्छन् । निकै कम समयमा जेजस्तो गर्ने हो, त्यो गरिहाल्छन् । विपक्षी ब्याटरसामु आफूलाई सम्हाल्ने अवसर नै हुन्न । भनिन्छ, उनी जस्ता विकेटकिपर विश्व क्रिकेटमा विरलै देखिन्छन् र उनको यो कला यसपल्ट पनि दमदार देखिएको छ ।
धोनीले एउटा अर्को काम पनि खुबै राम्रोसँग निर्वाह गरिरहेका छन् । त्यो हो, नयाँ र युवा खेलाडीमाथि विश्वास गर्ने । तिनलाई चाहिँदो मौका दिने । सबैलाई थाहा छ, उनकै कारण भारतीय टिममा विराट कोहली र रोहित शर्माले स्टारडमसम्म पुग्ने मौका पाए । चेन्नाईकै कुरा गर्ने हो भने यस्तै अवसर धोनीले सुरेश रैना र रवीन्द्र जडेजाका लागि तयार पारे । त्यसैले
त हो, चेन्नाईले कीर्तिमान पाँचपल्ट आईपीएल जित्न सकेको ।
यसपल्ट चेन्नाईका लागि राम्रो प्रदर्शन गर्नेमा श्रीलंकाली फास्ट बलर मथिशा पथिरना पनि पर्छन् । उनको बलिङमा अर्का श्रीलंकाली पूर्वबलर लसिथ मलिंगाको झलक पाइन्छ । पथिरनाले एक अन्तर्वार्तामा आफ्नो खेल जीवनमा धोनीको प्रभाव अभिभावकको जस्तै रहेको बताएका छन् । उनले भनेका छन्, ‘आफ्नै बुबापछि मेरो खेल जीवनमा कसैको सबैभन्दा ठूलो प्रभाव छ भने उनी धोनी हुन् ।’ अन्तर्वार्तामा पाथिरनाले प्रयोग गरेको शब्द हो, ‘फादर फिगर’ । उनी भन्छन्, ‘धोनीले मेरो खेलमा नजिकबाट ध्यान दिइरहन्छन् । यस्तो गर्नु भनेर सल्लाह पनि दिइरहन्छन् । घरमा हुँदा बुबाले जेजस्तो गर्छन्, धोनीले पनि त्यस्तै गर्छन् ।’
गत सिजनमा धोनीले उपाधि उचाल्दा उनी टिमका प्रमुख बलर थिए । १२ खेलमा १९ विकेट लिएका थिए उनले । यसपल्ट पनि उनको भूमिका बलियो छ र १३ महत्त्वपूर्ण विकेट लिइसकेका छन् । धोनीप्रति यस्तै सम्मान बंगलादेशी बलर मुस्तफिजुर रहमानले पनि देखाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटका लागि उनी भर्खरै चेन्नाई छाडेर बंगलादेश फर्केका छन् । त्यस अगाडि उनलाई मीठो बिदाइ दिन धोनीले बिर्सेनन् । अनि धोनीको हातबाट उनको हस्ताक्षर भएको जर्सी पनि पाए । चेन्नाई छाड्नुअघि उनले सामाजिक सञ्जालमा लेखे, ‘सबथोकका लागि माही भाइलाई धेरैधेरै धन्यवाद । उनीजत्तिको लेजेन्डसँग एउटै ड्रेसिङ रुम सेयर गर्नु पनि ठूलै कुरा हो । मलाई विश्वास गरेकामा फेरि पनि धन्यवाद ।’
यत्तिको कुरा गर्दा एउटा प्रश्न अझै छुटाउनु हुन्न । साँच्चै धोनीले आईपीएलबाट संन्यास चाहिँ कहिले लिने छन् त ? गत सिजन सायद उनीसँग संन्यासका लागि असाध्यै राम्रो अवसर थियो । फाइनलमा गुजरात टाइटन्सलाई हराएर उपाधि जित्दा अनुमान पनि थियो, धोनीले अब संन्यास घोषणा गर्नेछन् । तर त्यस्तो केही भएन । बरु पछि उनले उल्टै घोषणा गरे, ‘म २०२४ को आईपीएलमा पनि देखिनेछु ।’ त्यसैले हामी यसपल्ट पनि उनको खेल हेर्न पाइरहेका छौं ।
यो सिजनको अन्त्यपछि के त ? यसपल्टको आईपीएलमा लिग चरणका खेल सकिने क्रममा छन् । अबको ध्यानमा प्ले–अफ खेल्ने टिम कुन–कुन हुनेछन् भन्नेमै छ । धोनीको परिवारसँग नजिक रहेकाले भनिरहेका छन्, सायद एक अर्को सिजन खेल्नेछन् कि ? अथवा हुन सक्छ, संन्यास लिन पनि सक्छन् । अहिलेका लागि उनको खेलमा रमाउनु नै ठीक ।

युवा ग्यालरी

'लापता लेडिज’ : घुम्टोभित्र छोपिएको पितृसत्ता

- सुगम दुलाल

(काठमाडौं)
घुम्टोभित्र छोपिएका र उस्तै रातो साडीमा दुई बेहुली रेलको एउटै डब्बामा छन् । यात्राको बीचमै उनीहरू साटिन पुग्छन् । एक बेहुली रेल्वे स्टेसनमै हुन्छे । त्यसपछि सुरु हुन्छ, ‘लापता लेडिज’ फिल्मको रोमाञ्चक कथा । दुईमध्ये एक बेहुली आफ्नो बेहुला र उसको घर खोज्न संघर्ष गर्छे । अर्की बेहुली भने कसरी हुन्छ, आफू बाध्य भएर बिहे गरेको बेहुलाको घर जान नपरोस् भनेर भाग्ने जुक्ति खोज्न संघर्ष गर्छे । यी दुईको फरक–फरक संघर्षको कथाभित्र छ, महिलाको मूल्य । परम्परा र संस्कृतिका नाममा उनीहरूलाई कसरी बाँधिएको छ भन्ने दृश्यको फेहरिस्त ।
फिल्ममा महिलाका दिनहुँका आचरण र स्वभावभित्र कसरी गहिरो असमानताको प्रभाव लुकेको छ भन्ने भेट्टाउन सकिन्छ । मारपिट, हिंसा, गालीगलौज र अतिरञ्जित भावनात्मक दृश्यबिना नै महिलाका वेदना यसरी पोखिएको छ मानौं चलचित्रले मिठाई ख्वाएजसरी तीतो औषधि चखाउँदैछ, पितृसत्तात्मक समाजलाई । गल्तीले अर्काको घर पुगेकी जया आफ्नो नाम, ठेगाना ढाँट्दै श्रीमान्को घर फिर्ता जान खोज्दिनन् । जयाले किन झूटको सहारा लिएर सबैलाई अन्योलमा पार्छिन् ? उता आफ्नो श्रीमान्को पर्खाइमा रहेकी फूलकुमारीले श्रीमान् भेट्लिन् कि नभेट्लिन् ? यस्तै प्रश्नको वरिपरि ‘लापता लेडिज’ दौडिन्छ ।
किरण रावको निर्देशनमा बनेको यस चलचित्रले पृथक् शैलीमा व्यंग्य प्रहार गरेको छ । सरल कथाभित्र शक्तिशाली अर्थ दिन खोजिएको छ तर कथा र पात्रको आत्मालाई नबिगारी । कुनै दृश्य पनि सन्देश दिनकै लागि भनेर निर्माण गरिएको छैन तर केलाउने हो भने हरेक दृश्यले केही न केही व्यथा बोल्छ । ‘लापता लेडिज’ मा हराइरहेका महिला देखाइएको छैन । देखाइएको छ त हराइरहेको चिनारी । एउटा लडाइँ देखाइएको छ, जहाँ खोजी हुन्छ– लापता अस्तित्व, अधिकार र आवाजको ।
फिल्ममा वर्षौंदेखि समाजले अपनाउँदै आएका स–साना विभेदकारी कार्य यसरी सामान्यीकरण भएको देखाइएको छ कि पात्रहरूले त्यसमा कुनै गल्ती भेट्टाउन छोडिसकेका छन् । चलचित्रको सुरुवातमै नवविवाहित बेहुलाको परिवारले धेरै दाइजो पाएको फुर्ती लगाउँदै गरेको दृश्य देखाइन्छ । बेहुला असक्षम रहँदा मात्र दाइजो नपाउने मानिसको बुझाइ चलचित्रमा प्रस्ट छ । अरूका अघि घुम्टो खोल्न नपाइने, श्रीमान्को नामसम्म उच्चारण गर्न नहुने, आफूलाई मनपर्ने परिकार पकाउन नपाइने, बाहिर गएर काम गर्न नपाइने, शिक्षा अघि बढाउन नपाइने, बदनामीको डरले आफ्नै माइत जान पनि नपाइनेजस्ता अनेक लैंगिक विभेदका उदाहरण चलचित्रभरि भेटिन्छन् ।
सन् २००१ को समय देखाइएको कथामा आइपर्ने अनेक घटना र परिस्थितिले फिल्मलाई यसरी कसेको छ कि त्यो हेरुन्जेल दर्शकबीच अनिश्चितता कायम रहन्छ । जरा गाडेको भेदभावपूर्ण मानसिकताले अनेक बाध्यात्मक परिस्थितिको लहर निम्त्याउँछ, जुन दृश्य देखिने तहबाट नियाल्दा हास्यास्पद देखिन्छन् तर गहिरो तहबाट जाँच्दा चिन्तनयोग्य छन् । श्रीमती हराइसकेपछि प्रहरीमा रिपोर्ट लेखाउन जाँदा फूलकुमारीका श्रीमान् दीपकलाई प्रहरीले श्रीमतीको फोटो माग्छन् । दीपकले श्रीमतीसँग आफ्नो एउटा मात्र फोटो रहेको बताउँदै सोही तस्बिर देखाउँछन् । जसमा घुम्टो ओढेकाले फूलकुमारीको अनुहार छोपिएको हुन्छ ।
फिल्ममा देखाइएका निर्दोष बेहुलीलाई आफ्नो रेल यात्राको गन्तव्यसमेत थाहा हुँदैन । रेलमै श्रीमान्सँग साथ छुटेपछि फूलकुमारी रेल स्टेसनमै दिन बिताउन थाल्छिन् । श्रीमान्को ठेगाना सोध्दा उसलाई यत्ति मात्र याद हुन्छ कि श्रीमान्को गाउँको नाम एउटा फूलको नामसँग मिल्छ । चलचित्रभरि स्टेसनमै काम गर्ने छोटु अनेक फूलका नाम सुनाउँदै फूलकुमारीको ठेगाना पत्ता लगाउने कोसिस गर्छ । अन्त्यमा गाउँको नाम सुरजमुखी रहेको पत्ता लागुन्जेल फूलकुमारीले आफूलाई निर्दोषबाट परिपक्व फूलकुमारीमा परिणत गरिसकेकी हुन्छे । फिल्मको अन्तिम दृश्यमा फूलकुमारीको घुम्टो खस्छ । ऊ खसेको घुम्टो समाउँछे, रोकिन्छे तर शिरमाथि लगाउँदिन । यसले फिल्मलाई प्रतीकात्मक निष्कर्ष दिलाउँछ, फूलकुमारीहरूको जीवनमा बदलाव आएको छ ।
फिल्ममा अर्की पनि महिला पात्र छिन्, मञ्जु माई । रेल्वे स्टेसनमा चिया बेचेर संघर्षपूर्ण जीवन गुजारिरहेकी मञ्जु माईले हराइरहेकी फूलकुमारीको ठेगाना मात्रै खोज्न सघाउँदिनन्, जीवनको दिशा बदल्न पनि सघाउँछिन् । छुच्चो बोल्ने भए पनि मञ्जु माईका हरेक शब्द विद्रोहको भट्टीबाट निस्केजस्तो लाग्छ । समाजले सिकाएअनुसार पितृसत्ताको पहरेदार बनिरहेकी फूलकुमारी, विद्रोह गर्दै अघि बढ्न खोजिरहेकी जया अनि पितृसत्तासँग लडेर आफ्नै स्वतन्त्रतासँग रमाइरहेकी मञ्जु माई । यो तीन तहको कथामा ‘लापता लेडिज’ को पूरै कथा घुमेको छ । ‘लापता लेडिज’ २०२४ मार्च १ मा सिनेमा घरहरूमा रिलिज भएको हो । अनलाइन प्लेटफर्म नेटफ्लिक्समा अप्रिल २६ मा रिलिज भएदेखि फिल्मले सबैको ध्यान तानिरहेको छ र भारतसहित थुप्रै देशमा ट्रेन्डिङमा आइरहेको छ ।
(प्रशिक्षार्थी)

Page 5
समाचार

विरोधबीच गण्डकीमा अधिकारीलाई विश्वासको मत

- दीपक परियार,प्रतीक्षा काफ्ले

(पोखरा)
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेशसभाको ३० मतको आधारमै विश्वासको मत प्राप्त भएको घोषणा गरिएको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुख कृष्णप्रसाद धितालले आइतबार सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । प्रदेशसभाको निर्णयको प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध गरेको छ ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले
राखेको विश्वासको मतको पक्षमा ३०,
विपक्षमा २७ र तटस्थमा २ मत परेको थियो । सभामुखले मतदानमा सहभागी संख्या ५९ रहेको र उक्त संख्याको बहुमत ३० हुने तर्क गरे । उनले अधिकारीलाई मुख्यमन्त्री घोषणा गर्दा कांग्रेस सांसदले बीचमै उठेर विरोध जनाएका थिए । उनीहरूले बैठकभित्रै कालोपट्टी देखाएर नाराबाजी गरे ।
मुख्यमन्त्रीमा दाबी पेस गर्दा उनले एमालेका २२, माओवादीका (सभामुखसहित) ८, स्वतन्त्र १ सहित ३१ सांसदको समर्थन पेस गरेका थिए । पक्ष र विपक्षमा मत बराबरी भएको अवस्थामा बाहेक सभामुखले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने बेलामा बराबरीको अवस्था रहेन ।
मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्थाअनुसार नै आफूले विश्वासको मत पाएको बताए । उनले मत दिने ५९ मा बहुमत ३० ले पुग्ने दोहोर्‍याए । ‘अदालतले समेत प्रमाणित गरेको विषयमा बढी बोल्न चाहन्न,’ उनले भने, ‘न्यायालयभन्दा माथि हामी छैनौं ।’ ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सभामुखलाई गणना नगर्दा ५९ हुन्छ । ५९ को ३० बहुमत भयो भन्ने अदालतको आदेश छ । तर संविधानको गणपूरक संख्या र मतदानसँग सम्बन्धित प्रावधानमा सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था छ । यो भनेको कुल संख्या नै हो । कुल संख्या भनेको ६० भएकाले बहुमत पुग्न ३१ नै हुनुपर्छ ।
आइतबार नै कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा असंवैधानिक भएको भन्दै कानुनी उपचारको प्रक्रियामा जाने बताएको छ । बैठकपछि कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बहुमत पाउन नसकेका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी सभामुखले गरेको घोषणा पूर्ण रूपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध रहेको बताए । ‘सभामुख जस्तो तटस्थ भूमिकामा रहेर संविधान र प्रदेशसभा नियमावलीको अधीनमा रही यसको कार्यान्वयन र पूर्ण पालना गर्नुपर्नेमा
संवैधानिक निकायमा रहनुभएका, तटस्थ भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवार व्यक्तिहरूबाट दलीय पक्षधरताका आधारमा कसैलाई सत्तामा पुर्‍याउनका लागि संविधानको खिलापमा कार्य हुनु दुःखद विषय हो,’ बैठकपछि प्रमुख सचेतक न्यौपानेले भने, ‘यसतर्फ नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रदेशसभा ६० सदस्यीय रहेको भन्दै कांग्रेसले विश्वासको मतका लागि निम्ति ३१ सदस्यको समर्थन आवश्यक पर्ने दाबी गरेको छ । ‘बहुमत सदस्यको विश्वासको मत प्राप्त नगरेको अवस्थामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको भनी गरिएको असंवैधानिक घोषणा/निर्णयप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति छ,’ दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यो असंवैधानिक निर्णयलाई नेपाली कांग्रेस संसदीय दल पूर्ण रूपमा अस्वीकार गर्दै कानुनी उपचारको प्रक्रियामा जाने जानकारी गराउँछौं ।’
कांग्रेस संसदीय दलका नेता पाण्डेले सभामुखको असंवैधानिक कदमलाई कुनै हालतमा स्वीकार्न नसक्ने बताए । ‘यो असंवैधानिक हो । यो असंवैधानिक कदम हामी मान्दैनौं । यसको खिलापमा हामी छौं,’ उनले भने, ‘३१ संख्या मुख्यमन्त्रीले पुर्‍याउन सक्नुभएन । एकपल्ट न्यायालय जानुपर्ने भयो । राजनीतिक र न्यायालयको दुवै लडाइँ लड्छौं ।’

सुदूरपश्चिममा ॅहतार नगर्न’ ओलीको निर्देशन
धनगढी– सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन आनाकानी गरेका एमाले सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले ‘हतार नगर्न’ निर्देशन दिएका छन् । शनिबार काठमाडौं पुगेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक सुरेन्द्रबहादुर पाललाई ओलीले विश्वासको मत लिने समय पर्याप्त बाँकी रहेकाले हतार नगर्न निर्देशन दिएका हुन् ।
‘विश्वासको मत नदिने भन्ने होइन तर हतार नगर्न निर्देशन गर्नुभएको छ,’ प्रमुख सचेतक पालले भने, ‘अध्यक्षले केन्द्रतिर सबै कुरा मिलाएर खबर गर्छौं भन्नुभएको छ ।’ मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । सोहीअनुसार प्रदेशसभा सचिवालयले बैठकको आह्वान गरेको थियो । तर एमाले मत दिन तयार नभएपछि बैठक शनिबारका लागि सारिएको थियो । शनिबार पनि एमाले नेताहरू तयार भएनन् । बरु संसदीय दलका नेता रावल र प्रमुख सचेतक पाल पार्टी नेतृत्वसँग परामर्श गर्ने भन्दै काठमाडौं हिँडेपछि प्रदेशसभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।
एकीकृत समाजवादीका सोडारीले मुख्यमन्त्री दाबी गर्दा एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता समूह) र एक स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनी वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, एमाले ११, माओवादी सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादी ४, राप्रपा १ र १ स्वतन्त्र सांसद छन् । नागरिक उन्मुक्तिमा २ सांसद अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा छन् भने ५ जना संरक्षक रेशम चौधरी पक्षका छन् ।

समाचार

कर्णालीमा सरकारको विवादले बजेट खर्चमा असर

- कृष्णप्रसाद गौतम

(सुर्खेत)
कर्णालीमा मन्त्रिपरिषद् विस्तारसँगै एमाले र माओवादीमा आन्तरिक विवाद सुरु भएको छ । माओवादीमा यसअघिका मुख्यमन्त्री एवं माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र पूर्वमन्त्री बिन्दमान बिष्ट समूहबीच विवाद छ भने एमालेमा मुख्यमन्त्री यामलाल कँडेल र विनोद शाह समूहबीच विवाद बढेको छ ।
मुख्यमन्त्री कँडेल एमाले स्थायी समिति सदस्य हुन् भने शाह पूर्वप्रदेश अध्यक्ष । शाह अध्यक्ष केपी ओली निकट मानिन्छन् । उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रोजेका थिए । तर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिइएपछि शाहले शपथग्रहण बहिष्कार गरेका थिए । ‘अब उहाँलाई नै शपथ खुवाउन राजी बनाउने कि अर्को मन्त्री बनाउने भन्ने विषयमा मुख्यमन्त्रीज्यूले १/२ दिनभित्रै निर्णय लिनुहुनेछ,’ मुख्यमन्त्री निकट एक सांसदले भने, ‘तर उहाँ जतिसक्दो सहमतिकै पक्षमा हुनुहुन्छ ।’
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै झन्डै साढे २ महिनादेखि कर्णाली सरकारको कामकाजमा बाधा पुगेको थियो । त्यसमा पनि कर्णालीका मुख्यमन्त्री कँडेलले आफू नियुक्त भएको २२ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका थिए । अझैसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । सरकारको विवादले बजेट खर्चमा पनि असर पुगेको छ ।
आर्थिक वर्ष सकिन ७० दिन बाँकी रहँदा कर्णाली सरकारलाई दैनिक झन्डै २३ करोड रुपैयाँ विकास बजेट खर्चनुपर्ने चुनौती छ । यो वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको सरकारले चैत मसान्तसम्म चालुतर्फ ३४.९८ र पुँजीगततर्फ १९.८ गरी झन्डै २५ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । अब प्रदेश सरकारको खातामा २४ अर्ब ८३ करोड रुपैयाँ मौज्दात छ । जसमा विकास खर्च मात्रै १५ अर्ब ८३ करोड ९७ लाख रुपैयाँ २ महिना ८ दिनमा खर्च गर्नुपर्ने देखिएको हो ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै झन्डै साढे २ महिनादेखि कर्णाली सरकारको कामकाजमा बाधा पुगेको थियो । त्यसमा पनि कर्णालीका मुख्यमन्त्री कँडेलले आफू नियुक्त भएको २२ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका थिए । अझैसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ९ महिनामा सरकारले चालुतर्फ ४ अर्ब ८३ करोड र विकासतर्फ ३ अर्ब ७३ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । ‘झन्डै ८० प्रतिशत विकास योजनाहरूको अख्तियारी जानै बाँकी छ,’ कामु प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले भने, ‘अख्तियारी गएका योजना पनि सानासाना मात्र छन्, जसका कारण विकास खर्च कमजोर देखिएको हो ।’
कर्णाली सरकारले यस वर्ष झन्डै ४ सय योजनामा बजेट छुट्याएको छ । त्यसमध्ये बढीमा ५० योजनाको मात्र काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले बताए । उनका अनुसार कर्मचारी अभाव, केही योजनाहरूमा विवाद, मन्त्रिपरिषद् गठनमा अन्योललगायत कारण बजेट कार्यान्वयनमा चुनौती भएको हो । ‘केही योजनाबारे अदालतमा मुद्दासमेत छ,’ उनले भने, ‘केही योजनाको रकमान्तर गर्नुपर्ने देखिएको छ, तर हामीले प्राथमिकताका आधारमा विकास योजनाहरू कार्यान्वयनमा लगिरहेका छौं ।’
प्रदेश सरकारले चैतमा मात्रै झन्डै २ अर्ब रुपैयाँ खर्च गरेको थियो । जनशक्ति अभावसँगै प्रदेश सरकारले टुक्रे योजना छनोट गर्दा र अध्ययनबिनै पहुँचका आधारमा योजनामा रकम विनियोजन गर्दा कार्यान्वयनमा समस्या भएको अर्थशास्त्री अमर ओलीले बताए ।

Page 6
सम्पादकीय

अपांगता भएकालाई सवारी लाइसेन्सबाट वञ्चित नगर

सवारीसाधन सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) अनिवार्य सर्त हो । तर त्यही लाइसेन्स लिन अपांगता भएका व्यक्तिहरूका लागि सकसपूर्ण छ । लाइसेन्स लिन खोज्दा प्रायःलाई यातायातका कर्मचारीले नै ‘मिल्दैन’ भनेर पन्छाउँछन्, दिन तयार भए भने झन्झटिलो प्रक्रिया अपनाउन बाध्य पार्छन् । त्यही कारण अपांगता भएका धेरै व्यक्तिले चाहेर पनि सवारीसाधन चलाउन पाएका छैनन् । कतिपयले भने लाइसेन्सबेगर जोखिमपूर्ण तरिकाले सवारीसाधन चलाइरहेका छन् । सवारी लाइसेन्समा राज्यको यस्तो विभेद अपांगता भएका व्यक्तिमाथि अपमान हो, अन्याय हो ।
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ अनुसार दृष्टिसम्बन्धी अपांगता भएकाबाहेक अरू व्यक्ति सवारी चालक अनुमतिपत्र पाउन योग्य हुन्छन् । साधारण ध्वनि संकेत, आवाज सुन्न नसक्ने व्यक्तिको सवालमा उनीहरूको क्षमता परीक्षण गरेर तोकिएबमोजिम मापदण्ड पूरा भएका सडकमा मात्र सवारी चलाउन पाउने गरी लाइसेन्स दिने व्यवस्था ऐनमा छ । हातखुट्टा शक्तिहीन भएर काम दिन नसक्ने (शारीरिक अपांगता) व्यक्तिहरूका हकमा खास किसिमले बनेको सवारीसाधन चलाउन पाउने गरी लाइसेन्स दिनुपर्छ भनिएको छ । सर्वोच्च अदालतले आवाज नसुन्ने व्यक्तिका लागि एक वर्षभित्रमा सडक पूर्वाधार सुधार (ट्राफिक चिह्न राख्नेलगायत) एवं ऐन संशोधन गरेर लाइसेन्स वितरण गर्न आदेश दिएकै पनि ११ वर्ष बितेको छ । सरकारले अदालतको आदेशसमेत पालना नगर्दा अपांगता भएका व्यक्तिहरू लाइसेन्सबाट वञ्चित भइरहेका छन् ।
यातायात कार्यालयका कर्मचारीले श्रवणशक्ति गुमाएका व्यक्तिका लागि सडकको मापदण्ड र शारीरिक अपांगता भएका व्यक्तिका हकमा खास किसिमले बनेको सवारीसाधन कस्तो हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था नभएको भन्दै सवारी लाइसेन्समा अपांगता भएका व्यक्तिहरूलाई पन्छाउने गरेका छन् । कतिपयले पटक–पटक धाएर, हारगुहार गरेर, ढाँटेर, कर्मचारीलाई ‘घूस’ दिएर सवारी लाइसेन्स लिएका छन् । उनीहरूले नवीकरणका बेला उस्तै झन्झट बेहोर्नुपर्छ । कोहीले अपांगता हुनुअघि लिएको एउटा सवारीसाधनको लाइसेन्सले अर्को साधन चलाइरहेका छन् । लाइसेन्स लिन नसकेर कतिपयले त्यत्तिकै पनि सवारीसाधन चलाइरहेका हुन्छन् । ट्राफिक प्रहरीले समातिहाले अपांगता परिचयपत्र देखाएर वा ट्राफिक प्रहरीसँग अनुनयविनय गरेका भरमा जरिवाना शुल्कबाट जोगिने गरेका छन् । लाइसेन्सबिना सवारीसाधन चलाए ट्राफिक प्रहरीले दुई हजार रुपैयाँ जरिवाना गराउँछन् । अनुनयले जरिवानाबाट जोगिए पनि चिन्ताको विषयचाहिँ लाइसेन्सबिना चलाउँदा निम्तिन सक्ने जोखिम हो । केही गरी दुर्घटना भइहाले यात्रुमा पर्ने क्षतिको भार चालकमाथि नै आइपर्छ । कोही यात्रुको मृत्यु हुन गए अपांगता भएको चालकले आजीवन काराबास जानुपर्ने हुन्छ ।
राष्ट्रिय जनगणना ०७८ अनुसार दसै वर्गका अपांगता भएका व्यक्तिको संख्या देशभर ६ लाख ४७ हजार ७ सय ४४ छ । यो देशको कुल जनसंख्याको २.२ प्रतिशत हो । अपांगता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनमा आउजाउ गर्न सहज छैन । घरबाट कतै निस्कनुपर्‍यो भने सार्वजनिक सवारीसाधन भएको ठाउँसम्म पुग्नुपर्छ, फर्कंदा पनि त्यहीँबाट हिँड्नुपर्छ । आफैं सवारीसाधन चलाउन सके उनीहरूलाई आवागमन सहज हुन्छ, गन्तव्यमा पनि छिटो पुग्न सक्छन् । पेसा, व्यवसायजस्ता अर्थोपार्जनमा संलग्न भएकाहरूलाई यातायातको सहज सुविधाले ठूलो राहत दिन्छ । नेपालले अनुमोदन गरेको अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी) को धारा ९ मा सरकारले अपांगता भएकालाई अरूसरह सबै ठाउँमा पुग्न सक्ने गरी यातायात सुविधा र पहुँच प्रदान गर्नुपर्छ भनिएको छ । सीआरपीडीको धारा १५ अनुसार अपांगता भएकालाई कुनै प्रकारको अमानवीय व्यवहार गर्न वा अपमान गर्न पाइँदैन ।
अपांगता भएका व्यक्तिहरूले झेलिरहेको सवारी लाइसेन्सको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । अपांगतामैत्री यातायात सेवा सुविधाबारे अविलम्ब स्पष्ट कानुनी प्रबन्ध गर्नुपर्छ । सवारीसाधनको प्रकृति र अपांगताको तहअनुसार कसले कस्ता सवारी चलाउन पाउने, सडकको मापदण्ड कस्तो हुनुपर्ने, सुरक्षा विधि के कस्तो अपनाउने जस्ता मापदण्ड अविलम्ब निर्धारण गर्नुपर्छ । त्यहीअनुसार सडकको स्तरोन्नति पनि गर्नुपर्छ । कानुनी मापदण्डले मिल्ने व्यक्तिहरूलाई सरल प्रक्रियामा सवारी लाइसेन्स वितरण गर्नुपर्छ । यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मात्र होइन, नीति निर्माणमा समन्वय गर्ने र अपांगता भएका व्यक्तिहरूको सम्पर्क मन्त्रालय भएको हैसियतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि तदारुकता देखाउनुपर्छ ।

सम्पादकलाई चिठी

ओली–कोइराला बाक्लो भेटको संकेत के ?


एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता शेखर कोइरालाबीच बुधबार राति ओली निवास बालकोटमा भेटघाट भयो । उनीहरूबीच सत्ता समीकरणकै लागि भेटघाट भएको हो वा अन्य विषयमा भन्नेबारे दुवैले गोप्य राखेका छन् । तथापि कोइरालाको तारन्तारको भेटघाटले बालकोटमा पक्कै पनि केही नयाँ कुरा पाकिरहेको
अड्कल काट्न सकिन्छ । ओलीले कुनै पनि हालतमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बन्न दिँदैनन् । तर वर्तमान सत्ता गठबन्धन रहिरहे नेपाललाई प्रधानमन्त्री बन्नबाट रोक्न सकिँदैन । किनकि नेपालसँग संघीय संसद्का १० सांसद मात्र होइन, ३ प्रदेशको सरकार तल–माथि गरिदिने तागत छ । नेपाल प्रधानमन्त्री बने एकीकृत समाजवादीको शक्ति यथावत् रहने डर ओलीमा छ ।
समाजवदी र माओवादी कमजोर बने एमाले बलियो हुने र त्यसका लागि नेपाल र प्रचण्डलाई प्रधानमन्त्री पद दिन नहुने मान्यता ओली राख्छन् । ओलीको यो भित्री कुरा बुझेर नेपाल पनि बिस्तारै कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडिन खोज्दै छन् । ओलीसँग कुरा मिल्यो भने पनि के देउवाले कोइरालालाई प्रधानमन्त्री बन्ने अवसर देलान् त ? नदिने हो
भने कोइरालाको दौडधुप के उद्देश्यका लागि हो ?
कांग्रेस महामन्त्री गगन थापाले अबको १ वर्ष कांग्रेसले सिंहदरबार र बालुवाटार हेर्न हुँदैन भनेर उद्घोष गरेका थिए । तर कोइराला भने दिनहुँ कांग्रेस र एमाले मिलेर तत्काल नयाँ सरकार बनाइहाल्नुपर्छ भनिरहेका छन् । तर देउवाले वामइतर पार्टीको सरकार बनाउन प्रयास गरिरहेको भन्ने सुनिन्छ । तर त्यसका लागि रास्वपा नमिलाई सम्भव नै छैन, जसलाई अहिले गगन थापा, विश्वप्रकाश शर्माहरूले धारे हात लाइरहेका छन् । यसर्थ अहिले नै यो होला भनेर कसैले अनुमान गर्न सक्दैन । तथापि एमाले र कांग्रेसको संयुक्त सरकार बनी नै हाले पनि के देउवाले कोइरालालाई प्रधानमन्त्री पद देलान् भन्ने विश्वास कसैमा छैन । यसर्थ कोइरालाले कांग्रेस र एमाले सरकारको वकालत गर्नुको कुनै अर्थ छैन ।
२०८४ को चुनावपछि कोइराला वा थापा प्रधानमन्त्री बन्ने कुरा पनि उनीहरूको हातमा नभई केवल जनतामा निर्भर रहन्छ । व्यक्ति र पार्टी दुवैले जिते मात्र यो सम्भव हुन्छ । केही महिनाअघि थापाले अबको संसदीय दल नेतामा उठ्न कोइरालालाई आग्रह गरेका थिए । तर कोइरालाले अहिलेसम्म आफ्नो कुरा प्रस्टसँग भनेका छैनन् । कोइराला संसदीय दलको नेता बनेर प्रधानमन्त्री मात्र हुन चाहेका हुन् कि पार्टी सभापति र प्रधानमन्त्री दुवै बन्न चाहेका हुन् ? थापाले पनि दुवै पद कोइरालालाई छाडेका हुन् वा दलको नेतामा कोइरालालाई छाडेर आफू पार्टी सभापति बन्न खोजेका हुन् ? यसबारे प्रस्ट हुन जरुरी छ । अन्यथा इतर पक्षमै शीतयुद्ध चलेर देउवा समूहलाई नै फाइदा हुन पुग्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

सम्पादकलाई चिठी

सीप मेला कि कुम्भ मेला ?


काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘सीप मेला’ देख्दा उदेक लाग्यो । यो साँचिक्कै सीप प्रदान गर्ने उद्देश्यद्वारा सञ्चालित हो कि बजेट सकाउन र प्रचारबाजीका लागि आयोजना गरिएको मेला हो ? एक त सीप मेला नै हो कि कुम्भ मेला आयोजना गरेको हो भन्ने छुट्याउन गाह्रो छ । अर्को यसरी कुम्भ मेलासरी आयोजना गरिएको सीप मेलामा सहभागीले कति नै सीप आर्जन गर्न सक्छन् र ? कुनै पनि सीपमूलक तालिमको प्रकृतिअनुसार निश्चित मापदण्ड हुन्छ । त्यस मापदण्डअनुसार नसिकिएको सीपको औचित्य हुँदैन । आधिकारिक सीप परीक्षण निकायबाट पास नभएसम्म सीपको प्रमाणपत्रको कुनै अर्थ रहँदैन । सीप भनेको आँखाले हेरेर र कानले सुनेर सिकिने विषयवस्तु होइन । उदाहरणका लागि समाचारमा उल्लेख भएअनुरूप टायल एण्ड मार्बल फिटर तालिमलाई लिऔं । के यो तालिम मेलाको कुनै कोठामा कसैले मार्बल यसरी काट्ने भनेर देखाएको भरमा सिक्ने विषय हो ? अटोमोबाइल तालिम भनिएको छ । सीप मेलामा यसका लागि उपयुक्त वातावरण छ ?
यो मेला यसरी आयोजना गरिएको छ कि देशमा सीप लिएका जनशक्ति नै नभए जस्तो अथवा देशमा कुनै पनि संस्थाले सीपमूलक तालिम दिँदै नदिए जस्तो । यस्तो तालिम आपत्कालीन अवस्थामा मात्र परिवेशअनुसार मात्र सञ्चालन हुन्छ । देशमा सीप लिएका दक्ष जनशक्ति नै बेरोजगार रहेको अवस्थामा यस्तो मेलामा दिइने आधारभूत (तथा देखावटी) तालिमबाट रोजगारी सिर्जना हुँदैन । यो महानगरपालिकाले करदाताको कर दुरुपयोग गरेको मात्र हो, बेकारको खर्च मात्र हो । यस्तो व्यर्थको तालिममा खर्च हुने बजेटलाई बरु बेरोजगार तर दक्ष सीपयुक्त युवाका लागि बीउ पुँजीका रूपमा महानगरपालिकाले लगानी गरेको भए देशको अर्थतन्त्रमा सानो भए पनि योगदान पुग्थ्यो ।
– रवीन्द्र सुवाल, काठमाडौं

सम्पादकलाई चिठी

भ्रष्टाचारी फाइल र सहकारी मामिला


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै भ्रष्टाचारीको फाइल खोल्छु भनेर गरेको प्रतिबद्धता कता हरायो ? हिजो खुलेको भ्रष्टाचारीको फाइलसमेत आज बन्द छ । उनी गृहमन्त्री भएपछि को–को भ्रष्टाचारी समातिए, ककसलाई कारबाही भयो भन्ने प्रश्न यत्रतन्त्र उठ्न थालेको छ । बोलेर होइन, गरेर देखाउनुपर्‍यो मन्त्रीज्यू । सरकार बाहिर बस्दा एउटा कुरा अनि सरकारमा गएपछि अर्को कुरा गरेर जनताको विश्वासमाथि धोका कहिलेसम्म दिने ?
बाटामा मकै बेचेर, बदाम बेचेर दुईचार पैसा जम्मा गरेका निमुखा जनताको पैसा खाने सहकारी मालिकलाई कारबाही गर्न केले रोक्यो ? सहकारीमा पैसा जम्मा गरेको प्रमाण छ । सहकारीका मालिक को–को हुन्, सरकारलाई थाहा छ । अब कारबाही गर्नचाहिँ केले रोक्यो ? सहकारी नियमनका लागि राष्ट्रिय सहकारी बोर्ड थियो, त्यस बोर्डको काम के रहेछ ? अहिले छानबिन समितिको चर्चा चलिरहेको छ । राज्यले छानबिन समिति कतिवटा कहिलेसम्म बनाउने ? छानबिन समिति बनाउने अनि कारबाही कसैलाई नगर्ने भए छानबिन समितिको अर्थचाहिँ के ?
– पुरुषोत्तम घिमिरे, काठमाडौं

सम्पादकलाई चिठी

रुस–युक्रेन युद्धमा फसेका नेपाली


रुसी सेनामा भएका नेपालीका आफन्त अनशन बसेको समाचार देखेपछि केही लेख्न मन लाग्यो । रुसी सेनामा भर्ती भएका नेपालीलाई उद्धार गरी फर्काउन माग राखेर आफन्त काठमाडौंमा अनशन बसेका रहेछन् । रुसी सेनामा लागेका युवाको सम्झौता रद्द गरी नेपाल फर्काउनुपर्ने, घाइते तथा मृत्यु भएका सेनाका परिवारलाई राहत दिलाउनुपर्ने, शवलाई नेपाल ल्याइदिनुपर्ने, बेपत्ता भएकाको खोजी गरिदिनुपर्ने माग आफन्तको छ । रुसी सेनामा भर्ती भएका नेपालीको तथ्यांक प्रकाशन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् । आफन्तलाई रुसी सेनामा पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने, रुसबाट फर्केर आएकालाई पुनःस्थापना जस्ता विषय पनि उनीहरूले अघि सारेका छन् । रुसी सेनामा भर्ती हुन गएका नेपालीका विषयका सरकार गम्भीर नभएकाले अनशन बस्नुपरेको अनशनकारीको तर्क छ । रुसी सेनामा भर्ती हुन गएका नेपालीमध्ये कम्तीमा सय जना परिवारको सम्पर्कमा नभएकामा तथा रुस–युक्रेन युद्धमा ३६ जनाको मृत्यु भइसकेको भए पनि शवसमेत नेपाल ल्याउन नसकिएकामा उनीहरू आक्रोशित छन् । तर यो विषय नेपाल सरकारमा मात्र निर्भर देखिँदैन । रुसी सेनामा नेपाली युवा भर्ती भएको जानकारी पाउनासाथ सरकारले कूटनीतिक पहल गरेको समाचार आएको पनि थियो । ती युवा नेपाल सरकारले पठाएर वा सरकारलाई जानकारी दिएर गएका होइनन् । बिचौलियाको प्रभावमा परेर बढी कमाउने प्रलोभनका कारण रुसी सेनामा भर्ती भएका हुन् तर सरकारले यसो भन्दैमा समस्यामा परेका आफ्ना नागरिकका विषयमा पन्छन मिल्दैन, उद्धारका लागि थप प्रभावकारी कूटनीतिक कदम चाल्नुपर्छ ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

दृष्टिकोण

माधव नेपालका सीमित विकल्प

- राजाराम गौतम

 

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल अचेल ‘सुर्खिया’ मा छन् । दुई कुराले उनी समाचारको ‘हेडलाइन’ बनेका छन् । पहिलो, उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारप्रति कडा कटाक्ष गर्न थालेका छन् । सार्वजनिक मञ्चहरूबाटै आफूलाई कमजोर ठाने सत्ता उलटफेर गरिदिने चेतावनी दिन्छन् । दोस्रो, नयाँ गठबन्धनबाट आफू प्रधानमन्त्री बन्ने चर्चा स्वयं गर्छन् । अथवा उनको पार्टीवृत्तबाट गरिन्छ । जस्तो कि, उनी आफैंले एउटा भाषणमा भने, ‘म प्रधानमन्त्री बन्ने कुराले कतिपयलाई पेट पोल्न थाल्या छ ।’
यो चर्चालाई थप अघि बढाए, नेकपा एसकै नेता राजेन्द्र पाण्डेले । बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उनले भने, ‘संसद्मा एक सिट भएको सांसदले त पायो भने प्रधानमन्त्री लिन्छ । १० सिट भएको पार्टीले किन नलिने ? म प्रधानमन्त्री लिनुपर्छ भन्ने पक्षमा छु ।’ नेपाललाई सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै यो मिडिया विमर्श चल्नुको मूल आधार हो, कांग्रेस सभापति शेरबहादुर देउवासँग उनको बाक्लिएको संवाद । अर्को आधार हो, ‘माओवादी–एमाले गठबन्धन नरुचाएको भारत उनलाई अघि सारेर नयाँ गठबन्धन बनाउने अभ्यास गर्दैछ’ भन्ने स्रोतको हवालासहितका समाचार । राष्ट्रिय दलको मान्यता नपाएको, १० सांसद भएको पार्टीका नेता प्रधानमन्त्री बन्न यी आधार परिपक्व अवश्य होइनन् । यद्यपि, यो मिडिया डिस्कोर्सले केही प्रश्न र जिज्ञासा जन्माएको छ । जसमाथि थप विमर्श आवश्यक छ ।
के नेपथ्यमा नयाँ गठबन्धन सरकार बनाउने खेल भइरहेको हो ? कांग्रेस नेपाललाई प्रधानमन्त्री बनाउन तयार छ ? त्यसका लागि बहुमत सदस्यको समर्थन उनलाई प्राप्त हुन सक्छ ? लामो समय किनाराका साक्षीजस्ता बनेका नेपाल फेरि नेपाली राजनीतिमा निर्णायक हुन थालेका हुन् ? अथवा उनमा जागेको सत्ताको भोक कति स्वाभाविक अथवा अस्वाभाविक हो ? के होला उनको राजनीतिक सीमा र भविष्य ? यस पटक यो स्तम्भ यी प्रश्नहरूमा केन्द्रित रहनेछ ।
नेपाली राजनीतिको निर्णायक तहमा शीर्ष नेताहरूको हालीमुहाली छ । खासगरी, बहालवाला र पूर्वप्रधानमन्त्रीहरूको क्लबजस्तै छ, राष्ट्रिय राजनीति । यो क्लबबाट एक जना पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ‘रिङ आउट’ भएका छन् भने प्रभावका हिसाबले झलनाथ खनालको हैसियत पनि कमजोर नै छ । प्रभावको वरीरयतामा चौथो नम्बरमा पर्ने नेपाल यतिबेला आफूलाई निर्णायक बनाउन अधिकतम प्रयत्नमा लागेका छन् । उनलाई थाहा छ, यस पटक नसके २०८४ पछि सत्तामा पुग्ने आफ्नो सम्भावना निकै क्षीण हुनेछ । हुन त अहिले पनि राष्ट्रिय दलको हैसियत नभएकाले उनका लागि परिवेश अप्ठेरो नै हो । तर, देउवाले उनको महत्त्वाकांक्षामा हावा भरिदिएका छन् । त्यसमाथि उनी भूराजनीतिक शक्तिकेन्द्रको रोजाइमा परेका छन् पनि भनिन्छ । सायद त्यसैले उनको आत्मविश्वासको पारो बढेको हुनुपर्छ ।
अहिले नेपाल हौसिएको देख्दा २०६६ जेठमा उनी पहिलो पटक प्रधानमन्त्री बन्दाको परिदृश्य स्मरण हुन्छ । पहिलो पटक प्रधानमन्त्री बन्दाको त्यही नजिरले उनको आत्मविश्वास बढेको पनि हुन सक्छ । त्यो बेला नेपाल स्वाभाविक हिसाबले प्रधानमन्त्री बनेका थिएनन् । संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट पराजित भएका नेपाल जस्केलाबाट सभासद भएका थिए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा भूमिका खेलेका नेता भनेर उनलाई मनोनीत २६ मध्येबाट सभासद बनाएका थिए । उनी एमालेका वरिष्ठ नेता त थिए तर अध्यक्ष र संसदीय दलका नेता थिएनन् । उक्त भूमिकामा झलनाथ खनाल थिए । तर, कोइराला दाहिना भएपछि संविधासभाको तेस्रो ठूलो दलका वरिष्ठ नेता नेपाल प्रधानमन्त्री बन्न सफल भए । उनी प्रधानमन्त्रीको उम्मेदवार बनेपछि संसद्मा निर्वाचन कार्यतालिका नबन्दै भारतका तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीले (पछि राष्ट्रपति पनि भए) अग्रिम शुभकामना दिएको सन्दर्भ चर्चाको विषय बनेको थियो ।
स्रोतहरू अहिले पनि भारतको सदाशयता उनलाई छ भन्छन् । जगजाहेर छ, प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग लगनगाँठो कसेपछि चीन हौसिएको छ भने भारत नाखुस छ । तर, आफू अनुकूलको पात्रप्रति शक्ति स्वार्थहरूको सदाशयता रहे पनि त्यो निर्णायक त्यतिबेला मात्रै हुन्छ, जुनबेला आन्तरिक राजनीतिक शक्तिहरू पनि त्यस अनुकूल परिस्थितिमा हुन्छन् । अहिले गठबन्धन फेर्ने परिपक्व आन्तरिक परिस्थिति बनेको देखिँदैन । कारण, सत्तारूढ गठबन्धनका मुख्य अंशियार यसको पक्षमै छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली भन्छन्, ‘सबै सामर्थ्य लगाएर गठबन्धन टिकाइन्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धनमा समस्या नभएको दाबी पटक–पटक गरेका छन् । स्वयं प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्व दाउमा राखेर नेपाललाई प्रधानमन्त्री बनाउन नयाँ गठबन्धनका लागि तयार होलान् भनेर सोच्न सकिँदैन । होला, उनले ओलीलाई दबाबमा राख्न माधवलाई देखाएर ‘खेल्न’ सक्छन् तर समकक्षी नेताहरूलाई खेलाई–खेलाई सत्ताभोग गरिरहेका प्रचण्ड तत्कालै नयाँ गठबन्धनका लागि तयार हुने छैनन् ।
यतिबेला कांग्रेस सभापति देउवा जुन कुनै सर्तमा गठबन्धन फेर्ने प्रयत्नमा छन् । कांग्रेसले दुइटा समानान्तर प्रयत्न गरिरहेको छ । देउवा नेपाललाई नै भए पनि प्रधानमन्त्री बनाएर यो गठबन्धन टुटाउन चाहन्छन् । कांग्रेसको अर्को नेता पंक्ति ‘स–साना दलहरूको पसल बन्द गर्न’ कांग्रेस–एमालेबीच सत्ता सहकार्य हुनुपर्छ भन्दै त्यसको लबिइङ गरिरहेका छन् । कांग्रेस नेता शेखर कोइरालाले त एमाले अध्यक्ष ओलीलाई भेटेर प्रस्ताव नै राखिसके । उनले निर्वाचन प्रणाली संशोधन गरेर सुधार्नेदेखि राजनीतिक स्थिरताका लागि मिलेर जानुपर्ने तर्क गर्दै आएका छन् । यो अवस्थामा सिङ्गो कांग्रेस राष्ट्रिय दलको हैसियत नभएको पार्टीका नेताको पक्षमा उभिएला र ?
नेपालको पक्षमा उपेन्द्र यादवको जसपा उभिन सक्छ । एमालेका भित्रियाहरूलाई थाहा छ, ओली यादवकै जोडबलमा नेपाललाई मनाउन कोटेश्वर निवास पुगेका थिए । तर, यादवको समर्थन नेपालको प्रधानमन्त्रीको आकांक्षा पूरा गर्न पर्याप्त हुँदैन । त्यसमाथि जसपा नै विभाजित भएको छ । अशोक राई नेतृत्वको समूह सात संघीय सांसदसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगिसकेको छ । त्यसकारण, नेपालको प्रधानमन्त्री आकांक्षा ओलीले खरो कटाक्ष गरेजस्तो ‘नजन्मिएको सोम शर्माको बाबुको दिवास्वप्ना’ जस्तो त नहोला । तर, यतिचाहिँ भन्न सकिन्छ, सत्ता बजारमा देखिएको ‘माधव–उछाल’ को आयु भने धेरै हुने छैन । कदाचित सत्ता गणितका खेल र नेपथ्यका स्वार्थहरूको भूमिकाले उनलाई प्रधानमन्त्री बन्ने अवसर जुरेछ भने पनि त्यो दिगो र प्रभावकारी हुने सम्भावना कमजोर छ । यो पृष्ठभूमिमा देउवा, प्रचण्ड, ओली अथवा नेपथ्यका शक्ति स्वार्थहरूका लागि उपयोग हुने कि जीवनको उत्तरार्द्धमा आइपुग्दा राजनीतिक ‘करिअर’ को कुशल अवतरण गर्ने ? नेपालले घोत्लिनु जरुरी छ । केहीअघि अनलाइन खबरसँगको वार्तामा नेपालले पदप्राप्तिको मोह नभएको बताउँदै भनेका थिए, ‘मलाई यो भीडभाडबाट निस्केर आनन्दसँग बस्न मन छ । किताब पढेर, संस्मरण लेखेर, देश दर्शन गरेर, संसार घुमेर रिल्याक्स गर्न मन छ ।’ नेपालका यी भनाइ मिडिया खपतका लागि मात्रै थिएनन् भने अब उनले सत्ता खेलहरूको बेचैनीबाट निस्केर आफ्नै अन्तरमनका यी आवाज सुन्नु श्रेयष्कर हुनेछ । कारण, राजनीतिमा उनका विकल्पहरू साँघुरा हुँदै गएका छन् ।
नेपालसामु राजनीतिक परिदृश्यमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न सक्ने एउटा मुख्य विकल्प थियो, नेकपा एसलाई राजनीतिक/सांगठनिक हिसाबले बलियो बनाउने । यद्यपि, विभाजनयता यो पार्टी/नेतृत्वले खेलेको भूमिका, आम निर्वाचन र उपनिर्वाचन परिणामहरूले राष्ट्रिय राजनीतिमा बलियो शक्तिका रूपमा खडा हुने संकेत गरेन/गर्दैन । जनता यो पार्टीप्रति आकर्षण हुनुपर्ने राजनीतिक कार्यक्रम, कारण केही त नेतृत्वले बताउन सकेको छैन । यस पटक प्राप्त जनमतलाई नेतृत्वले सत्ता भागबन्डाका लागि च्याँखे थाप्ने अस्त्र मात्रै बनाएको छ । समाजवादी मोर्चा बनाएर कम्युनिस्ट शक्तिहरूबीच एकता गर्दै अघि बढ्ने उनीसामु रहेको अर्को विकल्प पनि कमजोर हुँदै गएको देखिन्छ । कारण, समाजवादी मोर्चा बनाउने मुद्दालाई प्रचण्डले सत्ता राजनीतिको भर्‍याङ बनाए । नेपाल हेरेको हेर्‍यै भए । बाँकी रहेको विकल्प हो, एमालेसँग पार्टी एकता गर्ने । यो विकल्पमा बाधक बनेको छ, नेपाल–ओली प्रतिष्ठाको लडाइँ । यी दुई नेताबीच हुर्केको द्वैष, तिक्तता र ईर्ष्याको तटस्थीकरण हुँदा यो विकल्प उपयुक्त हुन सक्छ ।
२२ फागुनमा ओली नेपाल निवास कोटेश्वर पुग्दा धेरैलाई लागेको थियो, अब यी दुई नेताको तिक्तता घटेर जानेछ । दुवै पार्टीका दोस्रो पुस्ताका नेता र कार्यकर्ता पंक्ति उत्साहित पनि भएका थिए । एमालेहरूले ‘राजनीतिमा स्थायी मित्र वा शत्रु हुँदैन’ भन्ने चल्तीको भजन गाउन थालिसकेका थिए । महिनौंपछिको भेटघाटको सिलसिलाले पार्टी एकता हुन सक्ने आकलन पनि भए तर सत्ता राजनीतिको भागबन्डाले फेरि दुई नेताबीचको छेडखानी र घोचपेचका सिलसिला सुरु भएको छ ।
छेडखानीका सिलसिला रोकेर ओलीसँग सहकार्यका हात बढाउने विकल्प रोज्नु नेपालका लागि उचित बाटो हुन सक्छ । त्यो किनभने, विगतमा जबजब ओली–नेपालबीच सहकार्य भयो, उनी पार्टी राजनीतिमा निर्णायक थिए । नेकपा माले र नेकपा मार्क्सवादी मिलेर नेकपा एमाले बनेका प्रारम्भिक दिनमा यो पार्टी ‘ग्याङ अफ फोर’को मुख्य कमान्डमा थियो । ओली, नेपाल, मदन भण्डारी र जीवराज आश्रितलाई त्यो बेला ‘ग्याङ अफ फोर’ भनिन्थ्यो । २०५० जेठ ३ को रहस्यमय सडक दुर्घटनामा मदन र आश्रितको निधन भएपछि उक्त समूह भत्कियो यद्यपि त्यो समूहका दुई सदस्य ओली र नेपालको वर्चस्व एमालेमा लामै चल्यो ।
मदनको निधनपछि नेतृत्वमा माधव आए । ओली उनका अनन्य सहयोगी भए । खासमा २०४४ सालमा ओली जेलबाट छुटेपछि नै यी दुई नेता पार्टीभित्रको समूहमा एकै ठाउँमा उभिए । चौथो र पाँचौं महाधिवेशनमा मदनलाई महासचिव बनाउने सन्दर्भमा होस् वा झलनाथ–सीपीहरूलाई किनारा लगाउने कुरामा, दुवै एकै ठाउँमा थिए । महाकाली सन्धि अनुमोदनको मुद्दामा पार्टीमा विवाद बढ्दा, छैटौं महाधिवेशनबाट नेपाल महासचिव निर्वाचित हुँदा पनि यी दुईको राम्रै मिल्ती थियो । मनमोहन अधिकारीको निधनपछि चाहिँ यी दुई नेताबीच अन्तरविरोध देखियो । अधिकारीका लागि विशेष व्यवस्था गरिएको भन्दै उनको निधनपछि नेपालले अध्यक्ष पद खारेज गरिदिए । ओली अधिकारीको निधनपछि अध्यक्ष वा महासचिवका आकांक्षी थिए । नेपालले बहुपदमा जाँदा द्वन्द्व बढ्ने भन्दै खारेज गरेपछि यी दुई नेताबीच अन्तरविरोध बढ्यो । सातौं महाधिवेशनमा ओलीले अध्यक्षात्मक प्रणालीको वकालत गरे भने नेपाल विपक्षमा थिए । मतभेदहरूका बाबजुद आठौं महाधिवेशनसम्म पनि यी दुई नेताबीच अहिले जस्तो दूरी र द्वैष थिएन । कतिपय मुद्दामा एकै ठाउँमा उभिन्थे । जस्तो, २०६६ जेठमै नेपाललाई प्रधानमन्त्री बनाउने कुरामा ओली सहयोगी बनेकै हुन् । नवौं महाधिवेशनपछि बढेको इगो टसल, माओवादीसँग पार्टी एकता, नेकपाकालीन दिनहरू हुँदै अहिले पनि कायमै छ ।
यी दुई नेताबीचको सम्बन्धको सौहार्दले एमाले र एसको राजनीतिक भविष्यलाई निकै हदसम्म प्रभावित पार्नेछ । ओलीका कार्यशैलीगत कमजोरी छन् । उनमा अहिले पनि हैकमवादी प्रवृत्ति कायमै छ । यद्यपि, एमाले सांगठनिक हिसाबले बलियो भएको पुष्टि हालैको उपनिर्वाचनले पनि गरेको छ । नेकपा एसले एमाले हराउने भूमिका खेल्न सके पनि यो बेग्लै अस्तित्वको बलियो पार्टीका रूपमा उभिने सम्भावना क्षीण छ । कहिले कांग्रेसको छाता ओढेर त कहिले प्रचण्डको बुइँ चढेर नेपालले वैतरणी तर्न खोज्नु स्वाभाविक होइन । नेपालले च्याँखे दाउमा आइपर्ने प्रधानमन्त्री पद र सत्ता मात्रै हेर्ने कि राजनीतिक असुरक्षा भावले पिरोलिएको केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी पंक्तिलाई हेरेर कदम चाल्ने ? साढे पाँच दशक लामो राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका पाका नेपालले आफूसँग भएका सीमित विकल्पमध्ये उपयुक्त बाटो पहिल्याउन सक्नुपर्छ । अन्यथा, उनकै कार्यकर्ता हुँदा वामपन्थी लेखक हरि रोकाले लेखेजस्तै नेपालको छवि पदलोलुप र अस्थिर चरित्रको रहिरहनेछ ।
उनको राजनीतिक चरित्रबारे रोकाले लेखेका थिए, ‘एमालेका सर्वाधिक सक्रिय नेता नेपालको राजनीतिक स्थिरता र अस्थिरताबारे कुरा गर्दा मलाई उहाँको जुँगाको कट सम्झना हुन्छ । उहाँ कहिले जुँगालाई स्टालिन पारामा मुठार्नुहुन्छ । कहिले माथिल्ला ओठको दुई छेउ सिनित्त पारेर बीचमा एउटा फुल्को छोडिदिनुहुन्छ । कहिले ओठमाथिको बोझ हलुका पार्न सिनित्तै पारेर रातो माटोले पोतेका घरको पेटी जस्तो सफा देखिन्छ । सातामा कुन दिन उहाँका जुँगा कुन साइजमा रहेका होलान् भनेर सितिमिति कसैले अड्कल काट्न सक्दैन । नेपाल आफ्ना अस्थिर जुँगाको साइज जस्तै राजनीतिक कार्यनीति पनि अल्पअवधिमै फेरिरहनुहुन्छ ।’

Page 7
दृष्टिकोण

आयकर प्रणालीमा सुधारको खाँचो

- रूप खड्का


मूल्य अभिवृद्धि करपछि राजस्वको दोस्रो महत्त्वपूर्ण स्रोत आयकर हो । यसबाट कुल कर राजस्वको २७ प्रतिशतजति र कुल गार्हस्थ्य उत्पादनको ५.४० प्रतिशत हिस्सा प्राप्त हुन्छ । यस करलाई राजस्वको स्रोतका रूपमा मात्र नभई समाजमा आयको असमान वितरण कम गर्ने हतियारका रूपमा पनि प्रयोग गरिएको छ । सन् १९९० को दशकमा लागू गरिएको प्रथम पुस्ताको कर सुधार सन्दर्भमा आयकरलाई प्रशासनिक हिसाबले सरल र आर्थिक हिसाबले सक्षम बनाएर राजस्व परिचालन बढाउन करको आधार विस्तार गरेर दर घटाउन जोड दिइएको थियो । परिणामस्वरूप प्राकृतिक व्यक्ति तथा एकलौटी फर्मको आयमा १५ र २५ प्रतिशतको व्यक्तिगत आयकर र कानुनी व्यक्तिमध्ये बैंक तथा वित्तीय संस्थाको आयमा ३० प्रतिशत र अन्यको आयमा २५ प्रतिशतको संस्थागत आयकर लागेको थियो । आयकरको आधारमा प्रायः सबै किसिमका आय समावेश गरेर करको आधार विस्तार गरिएको थियो ।
आयकर ऐन २०५८ लागू भएसँगै आयकर व्यवस्था आधुनिक युगमा प्रवेश गरेको थियो । यस ऐनले स्वयंकर निर्धारणको सिद्धान्तलाई पूर्ण रूपमा अंगीकार गरेको थियो र आयकर प्रणालीमा विश्वमा विकसित भएका कर मुक्ति विरुद्धको सामान्य नियम, नियन्त्रणमा परिवर्तन, सम्बद्ध व्यक्तिबीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ) र नियन्त्रित विदेशी निकायजस्ता नवीनतम् अवधारणा अपनाएको थियो । फलस्वरूप अन्तर्राष्ट्रिय स्तरमा भएको एनसेलको कर विवादको निर्णय नेपालको पक्षमा हुने कानुनी आधार तयार भएको थियो ।

आयकरका समस्या
केही वर्षदेखि व्यक्तिगत आयकरका दरको संख्या तथा तह दुवैमा वृद्धि गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । फलस्वरूप व्यक्तिगत आयकर रोजगारी आयको पहिलो स्ल्याब (ब्राकेट) मा १ प्रतिशतको सामाजिक सुरक्षा करको नामले लगाइएको छ भने त्यसमाथिका पाँचवटा स्ल्याबमा १०, २०, ३०, ३६ र ३९ प्रतिशतका दरले लागू गरिएको छ ।

दक्षिण एसियामा व्यक्तिगत आयकरअन्तर्गत आधारभूत कर छुटको रकम तथा करका दर (२०२३)
देश आधारभूत कर छुट (अमेरिकी डलरमा) व्यक्तिगत आयकरको दर
उच्च सीमान्त दर अमेरिकी डलर ६०,००० बराबरको आयमा लाग्ने औसत प्रभावकारी दर
नेपाल ३७५२ ३९ ३२.९३
पाकिस्तान २१६२ ३५ ३१.१९
श्रीलंका ३९८२ ३६ ३१.१२
भुटान ३५९८ ३० २५.८५
भारत ३५९८ ३० २४.००
बंगलादेश ३१९६ २५ २१.६९
अफगानिस्तान ८३५ २० १६.९१
माल्दिभ्स ४६६०२ १५ १.२३

अमेरिकी डलर ६०,००० बराबरको आयमा लाग्ने नेपालको व्यक्तिगत आयकरको वैधानिक (स्ट्याटुटोरी) र प्रभावकारी (इफेक्टिभ) दुवै दर दक्षिण एसियामै सबभन्दा बढी छ (हेर्नुहोस् तालिका) । वैधानिक दर भन्नाले कानुनअनुसार आयका विभिन्न स्ल्याबमा लाग्ने करका दर हुन् भन्ने बुझिन्छ । आयको सबभन्दा माथिल्लो स्ल्याबमा लाग्ने सीमान्त दर नेपालमा ३९ प्रतिशत छ भने माल्दिभ्समा १५ प्रतिशत । प्रभावकारी दर भनेको कर नलाग्ने आयको पहिलो स्ल्याब र त्यसमाथिका विभिन्न स्ल्याबमा लागेका करका दरको आधारमा तिर्नुपर्ने कर भनेर कायम गरिएको रकमलाई कुल आयले भाग गरेर त्यसलाई १०० ले गुणा गर्दा निस्कने प्रतिशत हो । यस लेखमा प्रभावकारी दरको गणना गर्दा कटाउन पाउने खर्चलाई विचार गरिएको छैन । व्यक्तिगत आयकरको प्रभावकारी दर सबभन्दा बढी ३२.९३ प्रतिशत (रु. ८० लाखमा २६ लाख ३५ हजारजति कर लाग्ने भएकाले) नेपालको छ भने सबभन्दा कम १.२३ प्रतिशत माल्दिभ्सको छ ।
आयकरका दरको तह तथा संख्यामा गरिएको उल्लेखनीय वृद्धिले आयकर व्यवस्थामा अनेक समस्या सिर्जना गरेको छ । सर्वप्रथम उच्च दरले काम गर्ने, बचत तथा लगानी प्रवृत्तिलाई हतोत्साहित गर्ने र कर छल्ने प्रवृत्ति बढाउने हुँदा त्यस्तो कर प्रणाली आर्थिक तथा प्रशानिक दृष्टिकोणले अक्षम मानिन्छ । करका उच्च दरले केही करदातालाई कर छल्न प्रेरित गरेमा त्यसबाट राजस्व संकलनमा प्रतिकूल असर पर्ने मात्र नभई कर छल्न नचाहने वा नसक्ने र कर छल्नेबीच अस्वस्थ प्रतिस्पर्धा हुन्छ । उच्च दरले साना करदातालाई कर नतिर्नका लागि अनौपचारिक क्षेत्रमा प्रवेश गर्न प्रेरित गर्छ । अर्कोतर्फ करको उच्च दर भएको अवस्थामा कर छुटका लागि दबाब बढ्छ । कुनै आयमा उच्च दरले कर लाग्ने र कुनैमा कर छुट भएमा आयकर व्यवस्था असमान हुन्छ । आयकरका स्ल्याबको संख्यामा भएको वृद्धिले ब्राकेट क्रिपको समस्या पनि सिर्जना गरेको छ । करका स्ल्याब धेरै भएकाले करदाताको वास्तविक आयमा कुनै वृद्धि नभई नाम मात्रको आय वृद्धि भए पनि करदाताले तल्लो दरको सट्टा माथिल्लो दरको कर स्वतः तिर्नुपर्छ । यसका साथै करका दरको संख्या धेरै भएकोले कर झन्झटिलो र त्यसबाट कर अनुपालन तथा कर संकलन खर्च बढेर आयकर प्रशासनिक हिसाबले पनि अक्षम भएको छ ।
भारत, पाकिस्तान, बंगलादेशजस्ता प्रतिस्पर्धी मुलुकमा भन्दा भूपरिवेष्टित नेपालमा करको भार बढी भएकाले आर्थिक विकासका लागि चाहिने बाह्य लगानी भित्रिने होइन कि नेपालको सीमित पुँजी पनि पलायन हुने सम्भावना बढेको छ । यसरी उच्च दरले आर्थिक विकासमा प्रतिकूल असर पर्न गई करको आधार संकुचन हुन सक्ने भएकाले उच्च दर अन्ततोगत्वा राजस्व संकलनका हिसाबले पनि प्रत्युत्पादक हुन सक्छ ।
पारिश्रमिक आयको पहिलो स्ल्याबमा लाग्ने १ प्रतिशतको सामाजिक सुरक्षा कर व्यक्तिगत आयकरकै अर्को रूप भएकाले रोजगारी आयमा कुनै किसिमको छुट नभई पूरै आयमा कर लाग्न गएको छ, जुन व्यक्तिगत आयकरको सिद्धान्त तथा अन्तर्राष्ट्रिय असल अभ्यासविपरीत छ । यसले गर्दा नेपालमा न्यून आय भएका कर्मचारीले हरेक रुपैयाँमा कर तिर्नुपर्छ । उदाहरणका लागि नेपालमा मासिक ३५,००० तलब पाउने कर्मचारीले मासिक ३५० र वर्षमा ४,२०० कर तिर्नुपर्छ भने भारतमा मासिक १ लाख ३० हजारसम्मको तलब हुने कर्मचारीले व्यक्तिगत आयकर तिर्नु पर्दैन । अन्य मुलुकमा पनि आयको पहिलो स्ल्याबमा व्यक्तिगत आयकर लाग्दैन । संस्थागत आयकरमा पनि विभिन्न समस्या छन् । हाल बैंक तथा वित्तीय संस्था, सामान्य बिमा व्यवसाय लगायतका केही व्यवसायको आयमा ३० प्रतिशत र अन्यको आयमा २५ प्रतिशतका दरले संस्थागत आयकर लाग्छ । अर्कोतर्फ सहकारी माफियाको दबाबका कारण सहकारी क्षेत्रका लागि छुट्टै समानान्तर कर प्रणाली कायम भएको छ, जसअनुसार सहकारी संस्थाको आयमा ठाउँअनुसार ५, ७ वा १० प्रतिशतको कर लाग्छ । दबाबकै आधारमा सार्वजनिक गुठीअन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयको आयमा संस्थागत आयकरको दर २० प्रतिशत कायम गरिएको छ ।
आयकरअन्तर्गत कतिपय उद्योग व्यवसायलाई तिनीहरूको प्रकृति हेरेर ५, ७, र १० वर्षसम्म आयकर नलाग्ने व्यवस्था गरिएको छ । यसैगरी कतिपय उद्योग तथा व्यवसायका लागि न्यून स्तरको दर कायम गर्नुका साथै कतिका लागि आयकरका दरमा विभिन्न प्रतिशतको छुट दिने व्यवस्था गरिएको छ । यसले गर्दा संस्थागत आयकरका अनेक प्रभावकारी दर (उदाहरणका लागि २, ४, ६, १०, ११, १२, १३, १४, १५, १६, १८ र २० प्रतिशत) कायम भई यो कर आर्थिक दृष्टिकोणले अक्षम र प्रशासनिक हिसाबले जटिल भएको छ । हाल आयकर ऐन, औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐनलगायत दर्जनौं ऐनअन्तर्गत विभिन्न किसिमले आयकर छुट दिइएको छ । त्यसले गर्दा आयकरको आधार साँघुरिएको छ भने कतिपय छुटबाट खोजिएको उद्देश्य प्राप्त नभएको र तिनीहरूको दुरुपयोग भएकाले सरकारले ठूलो राजस्व गुमाउनुपरेको छ । आयकर ऐनको दफा ५७ मा भएको नियन्त्रणमा परिवर्तनसम्बन्धी व्यवस्था व्यवसायको मूल प्रकृतिमा परिवर्तन नभई हुने मर्जर तथा एक्विजिसन लगायतका सेयर हस्तान्तरण एवं प्राकृतिक रूपले पैत्रिक सम्पत्ति हस्तान्तरण गरेको अवस्थामा पनि लागू गरिएकाले यसले व्यावहारिक रूपमा लामो समयदेखि समस्या सिर्जना गर्दै आएको र करदाता तथा कर प्रशासनबीच कचमच हुँदै आए पनि यसलाई अहिलेसम्म हल गरिएको छैन । आय करसम्बन्धी प्रावधान आयकर ऐनका साथै औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, सहकारी ऐनलगायत एक दर्जनभन्दा बढी ऐनमा छरिएर रहेकाले आयकर व्यवस्था जटिल तथा अपारदर्शी भएको छ र लगानीकर्तालाई करको पूर्ण जानकारी हुन गाह्रो हुने स्थिति छ ।
हालैका वर्ष अन्तर्राष्ट्रिय कर प्रणालीमा विकसित नयाँ प्रावधानअनुसार आयकर ऐन तथा विभिन्न मुलुकसँग गरिएका कर सन्धिमा समय सापेक्षित सुधार गरिएको छैन । यसले गर्दा नेपालले ठूलो मात्रामा आयकर राजस्व गुमाउनुपर्ने अवस्था आउन सक्छ । यस सन्दर्भमा एनसेलको कर विवाद बिर्सनु हुँदैन । विवादको निर्णय अन्त्यमा नेपालको पक्षमा भए पनि नेपालले ठूलो लागत बेहोर्नुपरेको थियो । यस किसिमको अवस्था भविष्यमा नदोहोरियोस् भन्नका लागि मैले आयकर ऐन तथा नेपालले विभिन्न मुलुकसँग गर्ने कर सन्धिमा ‘विदेशमा भएको सम्पत्तिको अप्रत्यक्ष हस्तान्तरणबाट प्राप्त पुँजीगत लाभमा नेपालले कर लगाउन सक्ने’ स्पष्ट प्रावधान गरिनुपर्छ भनेर दिएको सुझावले मूर्तरूप पाएको छैन ।

आयकर सुधारका क्षेत्र
दरको संरचना सुधार्ने ः आयकरलाई आर्थिक तथा प्रशासनिक हिसाबले सक्षम, लगानी/व्यवसायमैत्री तथा प्रतिस्पर्धी बनाउन करका दरको संख्या तथा तह कम गरेर छिमेकी तथा प्रतिस्पर्धी मुलुकको तुलनामा करको भार बढी नहुने किसिमले कायम गर्नुपर्छ । यस सन्दर्भमा व्यक्तिगत आयकर १०, २० र ३० प्रतिशत र संस्थागत आयकर अपवादका रूपमा रहेका ३० प्रतिशतको दरबाहेक २० देखि २५ प्रतिशत हाराहारीमा कर लगाउने लक्ष्य राखिनुपर्छ । यस किसिमको दरको संरचना व्यक्तिगत र संस्थागत आयकरको दरबीच ठूलो अन्तर हुनु हुँदैन भन्ने सिद्धान्त तथा असल अभ्याससँग पनि मेल खान्छ । सहकारी, सार्वजनिक गुठीअन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयलगायत सबै संस्थाको आयमा समान किसिमको संस्थागत आयकर लगाउने नीति अपनाउनुपर्छ ।

सामाजिक सुरक्षा कर खारेज गर्ने ः पारिश्रमिक आयको पहिलो स्ल्याबमा सामाजिक सुरक्षा करको नामले लगाइएको कर व्यक्तिगत आयकरको अर्को रूप भएको र आधारभूत छुट नदिएर व्यक्तिगत आयकर लगाउने व्यवस्था करको सिद्धान्त तथा अन्तर्राष्ट्रिय असल अभ्यासविपरीत भएकाले यसलाई खारेज गर्नुपर्छ । नेपालमा व्यवसाय र लगानीबाट प्राप्त आयमा भन्दा रोजगारी आयमा लागेको करको भार निकै धेरै भएकाले रोजगारी आयमा सामाजिक सुरक्षा कर आदि कुनै नामले पनि थप कर लगाउनु हुँदैन । सामाजिक सुरक्षासम्बन्धी व्यवस्था गर्न दक्षिण एसियाका अन्य मुलुकका साथै विश्वका अधिकांश मुलुक र नेपालले पनि निजी क्षेत्रका लागि हालसालै लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई सार्वजनिक रोजगारीको सन्दर्भमा लागू गरेर पारिश्रमिक आयमा व्यक्तिगत आयकरबाहेक अन्य कुनै पनि कर लगाउनु हुँदैन ।
करको आधार विस्तार गर्ने ः आयकर ऐनलगायत विभिन्न कानुनअन्तर्गत दिइएका छुटलाई समीक्षा गरेर खोजिएको उद्देश्य प्राप्त गर्न प्रभावकारी नहुने छुटलाई खारेज गरेर करको आधार विस्तार गरेर राजस्व परिचालन बढाउने नीति अवलम्बन गर्नुपर्छ । करको उपयुक्त संरचना तर्जुमा गरेर अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याइनुपर्छ । कर छुट तथा सुविधाको दुरुपयोग रोकेर करको आधार विस्तार गर्नका लागि कर खर्चको गणना गरेर संसद्मा छलफल गराउने र सार्वजनिक गर्ने परिपाटी बसाल्नुपर्छ ।

लगानी आकर्षित गर्न सुविधा बढाउने ः संस्थागत आय करलाई लगानीमैत्री तथा आर्थिक विकासउन्मुख बनाउनका लागि खर्च कट्टी, ह्रासकट्टी तथा घाटा समायोजन गर्ने व्यवस्थालाई उदार बनाइनुपर्छ । प्रशिक्षण, अनुसन्धान तथा विकासमा गरिने लगानीले प्राविधिक अन्वेषण तथा आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निभाउने हुँदा त्यस्तो लगानी पूर्ण रूपमा तुरुन्त कटाउन पाउने व्यवस्था हुनुपर्छ । तोकिएको क्षेत्रमा लगानी आकर्षित गर्न मिल, मेसिनरी तथा उपकरणमा गरिएको खर्च छिटोछिटो कटाउन ह्रासकट्टीको दर बढाउने वा थप ह्रासकट्टी दिने व्यवस्था गरिनुपर्छ । यसका साथै करदातालाई फिर्ता दिनुपर्ने संस्थागत करको रकम तुरुन्त फिर्ता दिने वा अन्य कर दायित्वसँग मिलान गर्न सक्ने र समयमा फिर्ता नभएको रकममा सरकारले १५ प्रतिशतले ब्याज दिनुपर्ने व्यवस्था गरेर व्यवहारमा प्रभावकारी रूपमा लागू गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय करमा सुधार ः आयकर ऐन २०५८ तथा विभिन्न मुलुकसँग गरिएका कर सन्धिलाई संशोधन गरेर अन्तर्राष्ट्रिय कर प्रणालीमा हालैका वर्षमा विकसित अवधारणालाई अँगाल्नुपर्छ । नेपालले कुनै देशसँग कर सन्धि गरेका कारण दोहोरो कर लाग्ने अवस्था हटेर त्यस देशबाट नेपालमा ठूलो मात्रामा वैदेशिक लगानी भित्रिने सम्भावना छ भने त्यस्तो देशसँग कर सन्धि गरिनुपर्छ । भविष्यमा नेपालका लागि उपयुक्त कर सन्धि तय गर्न उपयुक्त आधार बनाउन कर सन्धि नीति फ्रेमवर्क र नमुना कर सन्धि तय गर्नुपर्छ । विदेशमा भएको सम्पत्तिको अप्रत्यक्ष हस्तान्तरणबाट सिर्जना हुने पुँजीगत लाभमा नेपालमा कर लाग्ने सोझो र स्पष्ट प्रावधान गर्नुपर्छ ।

नियन्त्रणमा परिवर्तन ः व्यवसायको मूल प्रकृतिमा परिवर्तन नभई हुने मर्जर तथा एक्विजिसन लगायतका सेयर हस्तान्तरण एवं प्राकृतिक रूपले पैत्रिक सम्पत्ति हस्तान्तरण गरेको
अवस्थामा नियन्त्रणमा परिवर्तनसम्बन्धी प्रावधान लागू नहुने व्यवस्था गरिनुपर्छ ।

आयकर कानुनसम्बन्धी व्यवस्था ः आयकरसम्बन्धी सम्पूर्ण कानुनी प्रावधान आयकर ऐनमै समावेश गर्नुपर्छ ।

निष्कर्ष
आयकरको उपयुक्त संरचना तथा सञ्चालन प्रक्रिया तर्जुमा गरिएन र यसलाई सही किसिमले लागू गरिएन भने यस करबाट खोजिएको उद्देश्य हासिल गर्न सकिँदैन । उल्टो यसले करदाताको कर अनुपालन लागत तथा सरकारको कर संकलन खर्च अनावश्यक रूपमा बढाउँछ । अर्थतन्त्रमा नसोचेको तथा नचाहेको प्रभाव पारेर आर्थिक लागत बढाउँछ, यस्तो कर व्यवस्था अन्ततोगत्वा राजस्व संकलनको हिसाबले प्रत्युत्पादक हुन्छ र आशातीत रूपमा ठाडो (भर्टिकल) र तेर्सो (होरिजन्टल) रूपमा समान पनि हुँदैन । आयकरलाई दुवैतिर धार भएको चक्कुसँग तुलना गरिन्छ, सही किसिमले प्रयोग गरे फलफूल काट्छ, नभए हात काट्न सक्छ ।
आयकरलाई प्रशासनिक हिसाबले सरल, आर्थिक हिसाबले सक्षम र अन्तर्राष्ट्रिय हिसाबले प्रतिस्पर्धी बनाउन जरुरी छ । स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गरी आर्थिक विकासको गति बढाउनका लागि आयकर छिमेकी तथा प्रतिस्पर्धी मुलुकको करको दरको तुलनमा बढी हुनु हुँदैन । सबै किसिमको आय आर्जन गर्ने गतिविधिलाई यस करको दायरामा ल्याएर कर तिर्ने क्षमताअनुसार न्यायिक रूपमा लागू गरिनुपर्छ । हाल लगानी र व्यवसाय आयको तुलनामा कानुनी तथा व्यावहारिक दुवै आधारमा रोजगारी आयमा करको भार निकै उच्च छ । एक प्रतिशतका दरले सामाजिक सुरक्षा करको नामले लगाइएको व्यक्तिगत आयकरलाई खारेज गरिनुपर्छ र रोजगारी आयमा व्यक्तिगत आयकरबाहेक सामाजिक सुरक्षा कर वा यस्तै अन्य कुनै नामले कुनै कर लगाइनु हुँदैन । करको दृष्टिमा हरेक स्रोतको आय समान हुनुपर्छ र कानुनअनुसार लाग्ने कर दायित्व सबैले बहन गर्नैपर्ने वातावरण तयार गरिनुपर्छ ।

दृष्टिकोण

नयाँ पुस्तामा गिजोलिएको चेतना

- सुशीला शर्मा

 

सार्वजनिक बसमा नियमितजसो यात्रा गर्दा अनेक मानिसका जीवन पढ्न सकिन्छ । कैयौं रनाहा बोकेर यात्रा गरिरहेका महिला, पुरुष, रोगी, बिरामी इत्यादि । यात्रा गर्दै कहिले झ्यालबाहिर चियाइन्छ त कहिले आँखा चिम्म गर्दै निदाउने कोसिस गरिन्छ । कहिले ती कलिला मुनाहरूका बारेमा सोच्न पुगिन्छ, जो यो संसारमा आफ्ना अबोधपनासँगै खेल्दै रमाउँदै हुर्किरहेका हुन्छन् । उनीहरूको भविष्य कस्तो होला, परिवारले सजिलै हुर्काउन सके त ठीकै छ होइन भने परिवारले खाएका हन्डरले उनीहरूलाई पनि कति चोटपटक लाग्ने हो ।
फेरि किशोरावस्था पार गरेर वयस्कतिर लम्किँदै गरेका छोराछोरीतिर दृष्टिगोचर हुन पुगिन्छ । उनीहरू निकै अलमल, भविष्यबारे चिन्ता र मानसिक अवसाद जस्तो देखिन्छ । खर्चबर्च जोहो गरेर रुचिअनुसार पढ्न विदेश पठाउन सक्षम परिवार भए त राम्रै भयो । तर जसको परिवारमा यो क्षमता छैन उनीहरूको विरक्ति पनि थेगिनसक्नुको देखिन्छ । परिस्थिति नै आर्थिक जर्जरतामा गुज्रिइरहेको बेला छ । जसरी पनि कमाउनुपर्छ भन्ने दबाबले युवापुस्तालाई परिवार, समाजमात्रै होइन विचार मन्थनबारे पनि सोच्ने फुर्सद छैन । हाम्रा युवा जो आफ्नो प्रतिभामार्फत समाजलाई छिटो आकर्षित गर्ने पेसामा आबद्ध छन्, उनीहरूबाट पक्कै समाजले केही अपेक्षा राखेको हुन्छ । तर, उनीहरू सामाजिक सञ्जालमा ‘सामाजिक’ छन्, व्यवहारमा व्यक्तिगत । आफ्नो खुबीबाहेक अन्य पक्षमा भने बेखबर नै देखिन्छन् । हामीले देखिरहेका छौं कि आफ्नो वैवाहिक जीवन सुरु गरेका सेलिब्रिटीहरू श्रीमान्को खुट्टाको पानी खाइरहेको, लम्पसार परेर ढोगिरहेको । दर्शकश्रोताबाट प्रश्न उठ्यो भने ‘हाम्रो आफ्नो जीवन, जेसुकै गरौं’ या ‘ख्यालठट्टा पो गरेको’ भनेर पन्छिने प्रवृत्ति देखिन्छ । समाजमा आइडल मानिएका वा आइडल बन्न खोजिरहेका प्रतिभाहरूको बुझाइ र चेतना त अनुकरणयोग्य हुनुपर्ने होइन र ?
हामी सोच्छौं कि नयाँ पुस्ता त आफसेआफ समयसँगै परिवर्तन हुन्छन् । उनीहरूले विश्वव्यापी घटना, पढाइ, प्रविधिसँगसँगै आफूलाई पनि निखार्दै लगेका हुन्छन् । अभिभावकले नै सम्पूर्ण रूपले प्रशिक्षित गर्दै नहुर्काएसम्म त कहाँ स्मार्ट पुस्ता तयार हुँदो रहेछ र ? शिक्षाका लागि पूरा गरेको डिग्री मात्रै चेतना र सामाजिक व्यवहारसँग पटक्कै मेल खाँदो रहेनछ । हामीले तयार गरेका नयाँ पुस्ताले ऐना बनेर परिवर्तन र चेतना देखाइदिनुपर्ने होइन र ? यही सञ्जालमा हामी थुप्रै महिला प्रवचनकर्ता पनि उदाइसकेका देख्छौं । डिग्रीधारी कतिपय त्यस्ता युवा महिला जीवनमा धेरै उतारचढाव भोग्दै आफूलाई दुनियाँसामु उभ्याउन सफल पनि भएका छन् । उनीहरू अरूलाई प्रेरणा दिने, प्रभाव बढाउने तहमा पनि पुगेका छन् । विडम्बना, उनीहरू अग्रगामी, प्रगतिउन्मुख वैज्ञानिक विचार होइन कि पीडकपोषित र पुरातन कुरालाई मात्रै अंगीकार गर्ने समूहमा किन मिसिएका छन् ? अहिलेको पुस्ता कम्तीमा विचार विश्लेषण गर्न सक्ने हुनुपर्ने हो । तर, कतै मन्दिरतिर थुनेर राखेका बाँदरलाई ढोग्न पुगिरहेका छन् त कतै ढुंगाका अप्ठेरा चेपबाट अड्किँदै जीवन नै जोखिममा राखेर पापमोचनको यात्रामा लागिरहेको देख्न सकिन्छ ।
हामी एसियाली समाजका मानिस हौं । उबेला मानवीय कल्पनाबाट जन्मेका सभ्यता, संस्कृति अनि धर्मले निर्देशित छौं । भनौं, हाम्रो समाज त्यसरी निर्देशित छ । ती चलनभित्र पनि कैयौं प्रथा थिए, प्रथाभित्र पनि कैयौं कुप्रथा थिए । तीमाथि समयअनुसार बहस भए र यही मानव समाजले नै खारेज पनि गरे । तर, गहिरोसँग गढेर बसेका हाम्रा अभ्यासका जरा भने मस्तिष्कभित्र जैविकझैं बसिरहेका हुने रहेछन् । हामीले जानेर या नजानेर ती अवशेषको प्रयोग बेलाबखत निकालिरहँदा रहेछौं या पुनः अभ्यासमा ल्याउँदै नयाँ पुस्तालाई पनि हस्तान्तरण गरिरहेका हुने रहेछौं ।
हामीले फेर्न नसकेका थुप्रै सामाजिक चलन छन् । जसलाई हाम्रो संस्कृति, मान्यता, धर्मका रूपमा अपनाएको ढोङ गरिरहेका छौं । त्यस्तै सोचविचार राख्नेलाई मलजल गरेर उक्साई पनि रहेका छौं । कतिपय अवस्थामा हामीलाई कुदृष्टि र कुनियतले हेरिरहेका पीडकलाई नाइँ भन्न सकिरहेका छैनौं । आफ्नै बारेमा बुझ्न सकिरहेका छैनौं । हामीलाई देशको सामान्य कानुनबारे पनि थाहा छैन । हामीले अधिकार पनि हुन्छ, सँगसँगै आफ्नो व्यक्तित्व हुन्छ र सामाजिक, पारिवारिक दायित्व रहन्छ भन्ने बिस्तारै बिर्संदै छौं । अति व्यस्तता, सामाजिक सञ्जाल निर्देशित समाज, पुँजीवादी उपभोक्तामुखी आर्थिक पाटोले हामी गिजोलिएका छौं । सकभर विदेश जाने, नभए पनि छिटो पैसा कमाउनेतिर लाग्ने भन्ने मान्यता बढ्दै जानुले युवापुस्ताको सामाजिक उत्तरदायित्व ओरालो यात्रामा गइरहेको देख्न सकिन्छ । नाता सम्बन्ध, प्रेमलाई अलि परै राखेर धनसम्पत्तिका लागि हामी आखिर किन दौडिइरहेका छौं ? पैसा प्रमुख भएपछि र त्यसैले सम्पत्ति–विलासिताका चिज सहज बनाइदिइसकेपछि समाज–संस्कृतिप्रति, सिकाइका नयाँ आयामतिर जाँगर चलाउने कसले ?
हामी आफूलाई मन लागेको, सुहाउँदो आधुनिक पहिरन लगाउने स्वतन्त्रतालाई अपनाउने मामलामा केही उदार पनि छौं । यसमा हामी आफ्नो अडान राख्न सक्छौं, हाम्रो अधिकारको उपभोग गर्न सक्छौं । आफूलाई मन लागेका गरगहनामा सजिन सक्छौं, मन लागेको पार्टीमा गएर नाच्न सक्छौं । आर्थिक अवस्थाले नभ्याउने अवस्थामा अनेक दैनिक आवश्यकतालाई कटौती गरेर भए पनि गरगहना र समय सुहाउँदो फेसनतिर पनि हामी सजग भएकै हुन्छौं । तर, स्वतन्त्रता उपभोग गर्न खोज्दै गर्दा आफ्नो अस्मिता र अस्तित्वतर्फ पनि सचेत हुनैपर्छ ।
हामीले अन्याय सहनु हुन्न, दुर्व्यवहारलाई नाइँ भन्नुपर्छ र कसैले जबर्जस्ती गरे कानुनी उपचारमा जानुपर्छ । कानुन छ र पीडकलाई कारबाही गर्नुपर्छ भनेर कानुनी उपचारमा गइहाले पनि हाम्रा किशोरी या महिलाको मन धुकचुक, धुकचुक गरिरहेकै हुन्छ । किनकि भविष्यमा मेरो सामाजिक जीवन कस्तो हुने हो, परिवार, समाजको बहिष्करणमा पो पर्ने हो कि भन्ने लाग्नु स्वाभाविक हो । तर पीडित बनाउनेहरू अझ पीडा थप्न तम्तयार भएर बसेका हुन्छन् र सधैंभरि पीडितलाई नै लाञ्छना लगाइरहन्छन् । गालीगलौज गरिरहन्छन् । बल्लबल्ल आफूलाई पीडित हुनुको खराब अवस्थालाई झेल्दै गम्भीर मानसिक अवस्थाबाट गुज्रिसकेर पहिलाको अवस्थामा आउँछन् । तर, कतिपयमा पीडक खराब मनसाय भएको व्यक्ति थियो र उसले सजाय पाउनु आवश्यक थियो र भन्ने प्रश्न घुमिरहन्छ । उल्टै आफैंले पो गल्ती गरेको हो कि भन्ने डर लिएर बस्नेहरू पनि छन् । निरीहताले किन गाँजिरहेको छ नयाँ पुस्तालाई ? अब त निडर र स्वतन्त्र भएर आफ्नो अस्तित्व आफैं निर्माण गर्ने समय आएन र ? गलतलाई गलत नभनी गल्ती गर्नेलाई नै उल्टै काँध थाप्ने समाजप्रति झापड दिने खोइ हाम्रो क्षमता ? प्रश्न हामीतिरै तेर्सिन्छन् । हामीले नयाँ पुस्तालाई चेतनातिर उन्मुख गराउनै पो बिर्सियौं कि आफैंले पश्चगामी बाटो अपनाइरहेका छौं ?

 

Page 8
समाचार

मिटरब्याजपीडित कोही जेलमा, कोही फरार

- विनय आजाद

(सिरहा)
सिरहाको औरही गाउँपालिका–४ इटाटारका ६१ वर्षीय कपिलदेव यादव मंसिरयता घरमा छैनन् । उनी कहाँ छन् भन्नेबारे परिवारकै सदस्य पनि खुलेर बोल्न डराउँछन् । उनलाई बुढेसकालमा घर छोडेर भाग्नुपर्ने आपत् मिटरब्याजका कारण आइपरेको हो ।
विपन्न परिवारका कपिलदेवले घर व्यवहार चलाउन २०६६ चैत १३ मा सिरहा नगरपालिका–१९ सन्हैठाका राकेश यादवसँग एक लाख कर्जा लिएका थिए । राकेशले तमसुक भने ३ लाखको बनाए । बेलाबेला कपिलदेव साहुको घरमा गएर हिसाब मिलाइदिन भन्थे । तर घुमिरहेको मिटरब्याजबाट हुने आम्दानीमा पल्किएका राकेश त्यसमा तयार भएनन् । बरु उल्टै राकेशले २०७० फागुन ८ मा सयकडा ३ रुपैयाँका दरले जोडेर भएको ९ लाख ९९ हजार रुपैयाँको अर्को तमसुक बनाएर ल्याप्चे लगाउन बाध्य बनाए । राकेशका दाइ शिवकुमारसँग कपिलदेवले कर्जा लिएको लिखत तयार पारिएको थियो ।
एक लाखको कर्जा १० लाख पुगेपछि कपिलदेवले तिर्न सक्ने अवस्था नै रहेन । यही बीच शिवकुमारले २०७५ जेठमा जिल्ला अदालत सिरहामा कपिलदेवविरुद्ध लेनदेनसम्बन्धी मुद्दा दायर गरे । अदालतमा कपिलदेवले मूल धन १ लाख भएको, बीचमा तमसुक बदलेको र त्यसको ३ गुणा तमसुक बनाइएको बयान दिए पनि फैसला उनको पक्षमा भएन । अदालतले २०७९ मंसिर ९ मा कपिलदेवलाई १५ लाख १९ हजार रुपैयाँ तिर्नुपर्ने र एक वर्ष जेल सजाय सुनायो । त्यसयता प्रहरीको खोजी रहेका कपिलदेव भागीभागी हिँडिरहेका छन् ।
आफ्नो बुबासँग कपिलदेवको कारोबार भएको शिवकुमारको दाबी छ । गत वर्षको कात्तिक १४ मा बुबाको मृत्यु भएकाले लेनदेनको कुरा कागजमा जे हो, त्यही भन्ने प्रतिक्रिया उनले दिए । ‘म विदेशमै थिएँ, बुबाले नै कपाली तमसुक मेरो नाममा बनाउनुभएको हो, गाउँघरमा यस्तो चल्छ,’ उनले भने ।
घर व्यवहार धान्न एकाध लाख कर्जाको पासोमा परेर घर छोडर भागेका र जेल नै पुगेका पात्र मधेशका अधिकांश विपन्न बस्तीमा भेटिन्छन् । औरही–३ पिपराका नन्दकिशोर यादव त्यस्तै अर्का पात्र हुन् । विपन्न परिवारका उनले छोरीको बिहे खर्चका लागि २०७० वैशाख २७ मा सिरहा–१९ सन्हैठाका नथुनी यादवसँग १ लाख ६० हजार कर्जा लिए । तर, तमसुक भने ५ लाख ५८ हजारको बनाइएको थियो ।
दुई वर्षपछि उनले नथुनीलाई घरमै गएर २ लाख ६० हजार रुपैयाँ बुझाए । त्यतिबेलासम्म प्रतिसयकडा ३ रुपैयाँका दरले ३ लाख हाराहारी हिसाब भएको थियो । नन्दकिशोरले आर्थिक स्थिति कमजोर रहेको सुनाउँदै यतिमा मान्न आग्रह गरे । तर, नथुनीले मानेनन् । उल्टै २०७८ वैशाख ७ मा सिरहा जिल्ला अदालतमा मुद्दा हाले । अदालतले २०७८ कात्तिक १५ मा नन्दकिशोरलाई एक वर्ष कैद वा १० लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनायो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि भाग्दै आएका उनलाई चैत १७ मा प्रहरीले घरबाटै पक्रेर लग्यो । नन्दकिशोर अहिले सिरहा कारगारमा छन् । ५४ वर्षीया श्रीमती उर्मिलाले भक्कानिँदै भनिन्, ‘नपक्रन र मिलिहाल्न साहुलाई पटक–पटक आग्रह गयौं । तर, हाम्रो दुःख कसैले बुझेनन् । मेरो उहाँलाई वृद्ध उमेरमा जेल पुर्‍यायो ।’
नन्दकिशोर र कपिलदेवजस्ता मिटरब्याजको समस्यामा फसेकाहरू सरकारले बनाएको मिटरब्याज समस्या समाधान आयोगबाट केही हुन्छ भन्नेमा आशावादी थिए । तर सरकारी आयोगले पनि उनीहरूको समस्या समाधान गर्न सकेन । कपिलदेवले सरकारले आयोग बनाएको थाहा पाएपछि २०८० जेठ २ मा जिल्ला प्रशासन कार्यालय, सिरहामा उजुरी पनि दिएका थिए । प्रशासनले उनलाई चार पटकसम्म छलफलका लागि बोलायो तर समाधान भएन । ‘मेरो कुरा न अदालतले बुझ्यो, न पुलिस प्रशासन सुन्न तयार छ,’ कपिलदेवले रुँदै भने, ‘यहाँ सबै कुरा धनीमनीकै चल्दो रहेछ, हामी गरिबको सुनिदिने त कोही छैन ।’ मिटरब्याजपीडितका अनुसार धेरैजसो साहुकार राजनीतिक दलनिकट छन् । त्यसैले उनीहरू सजिलै कागजी खेल खेलेर पीडितहरूको आवाज दबाउँछन् । ‘मिटरब्याजीको कुनै जात छैन, उनीहरू पैसाको आडमा सबै पार्टीका नेतासँग राम्रै सम्बन्ध राखेका छन्,’ नन्दकिशोरका छोरा शैलेन्द्रले भने, ‘नेताहरूको कुनै जागिर वा व्यवसाय छैन, तर विलासी जीवन बाँचेका छन्, यसका लागि नेतालाई पैसा चाहिएको छ, अनि पैसाकै आडमा मिटरब्याजीलाई चाहिँ संरक्षण ।’
मिटरब्याजपीडितसँग गृह मन्त्रालयले तीन पटकसम्म सम्झौता गरिसकेको छ । पहिलो पटक रामसुरत गुप्ता नेतृत्वको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग २०७९ असोज १ मा, दोस्रोपल्ट मनोज पासवान नेतृत्वको मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालसँग २०७९ चैत १८ मा र तेस्रो पटक अवधेश कुशवाहा नेतृत्वको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालसँग २०८० फागुन २८ मा सहमति भएको थियो । तर पटकपटकको सहमतिबाट पनि समस्या समाधानको बाटोतिर गएको छैन । पछिल्लो सम्झौतापछि सरकारले देशभरका प्रशासन र प्रहरी कार्यालयलाई पीडितलाई पक्राउ नगर्न र छलफल गरी मिलापत्र गराउन निर्देशन दिँदै आएको छ । तर यसको इमानदारीपूर्वक कार्यान्वयन भएको देखिन्न ।
पछिल्लो पटक गत फागुन २८ गृह मन्त्रालय र संघर्ष समितिबीच भएको सहमतिको बुँदा २ को (ङ) मा मिटरब्याजसँग सम्बन्धित मुद्दाका कारण अदालतबाट जरिवाना ठहर, बिगो कायम र कारागार चलान भएका पीडितका सम्बन्धमा प्रचलित कानुनबमोजिम पुनरावलोकन तथा माफी मिनाहाका लागि सिफारिस गर्ने उल्लेख छ । तर, स्थानीय प्रहरी प्रशासनले यसको पालना गर्नु त परको कुरा, पीडितलाई पक्राउ गर्ने, आतंकित पार्ने शृंखला रोकिएको छैन ।
मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालका संयोजक मनोज पासवान संख्या यकिन नभए पनि यसरी प्रहरीको डरले सयौं पीडित लुकिछिपी बस्दै आएको बताउँछन् । ‘हाम्रो सम्पर्कमै सयौं छन्, अझ कति छन् कति,’ उनले भने, ‘प्रहरी प्रशासनले पीडितलाई राहत दिनुको साटो आहात दिइरहेको छ ।’ राज्यका संयन्त्र सधैंभरि पीडकमैत्री रहँदै आएका कारण आफूहरूसँग भएको सहमति कार्यान्वयन हुन नसकेको उनको गुनासो छ । ‘सबै पीडित कमजोर नागरिक छन्, उनीहरूसँग न पैसा छ, न पहुँच,’ उनले थपे, ‘तर, मिटरब्याजीहरूसँग पैसा छ, पहुँच छ, राजनीतिक दलको संरक्षण छ, प्रहरी प्रशासनको साथ छ ।’
सिरहा जिल्ला अदालतबाट पछिल्लो दुई वर्षमा मात्रै ३ हजारभन्दा बढी मुद्दा साहुकारको पक्षमा फैसला भएको छ । अदालतले उपलब्ध गराएको तथ्यांकअनुसार २०७९ वैशाख १४ देखि यही वैशाख १४ सम्ममा ३ हजार ४६ लेनदेनका मुद्दा फैसला भएका छन् । ११ सय २८ मुद्दा भने अदालतमा विचाराधीन छ । लेनदेनका सबैजसो मुद्दा मिटरब्याजसँग सम्बन्धित छन् । यी सबै मुद्दा कपाली तमसुकका आधारमा दर्ता गरिएका नै भएको सिरहा जिल्ला अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए ।
अदालतबाट धमाधम फैसला भइरहँदा मिटरब्याजीविरुद्ध प्रशासन र प्रहरी कार्यालयमा उजुरी दिएका पीडितलाई न्याय दिने काम भने सुस्त छ । मन्त्रिपरिषद्को २०७९ चैत २० को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले उजुरी आह्वान गरेपछि सिरहा प्रशासनमा ३ हजार ८ सय ४२ पीडितले उजुरी दर्ता भएका थिए । तर, आठ महिनामा प्रशासनले छलफलबाट ४ सय ६५ वटा उजुरीमा मात्रै मिलापत्र गरेको छ । आयोगको म्याद मंसिर २५ मा सकिएपछि गृह मन्त्रालयले जिल्ला प्रशासनमा बाँकी उजुरी र नयाँ आउने उजुरी हेर्ने तथा विवाद निरूपण गर्ने जिम्मा प्रहरीलाई दिने गरी नयाँ कार्यविधि जारी गर्‍यो । तर, प्रहरीको जिम्मामा आएपछि उजुरीमाथि कारबाहीको अवस्था झन् सुस्त छ ।
पछिल्लो तीन महिनामा प्रहरीले एक सय ६ वटा उजुरीमा मात्र मिलापत्र गराएको छ । बाँकी ३२ सय ७१ उजुरी अलपत्र छ । प्रशासनबाट हस्तान्तरण भएबाहेकका उजुरी बोकेर पनि पीडितहरू प्रहरीमा पुगे पनि त्यस्ता उजुरीहरू दर्ता भएका छैनन् । सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले अहिलेसम्म त्यस्ता उजुरी बोकेर कति जना आए भन्ने तथ्यांक आफूसँग नभएको बताए । ‘दर्ता नहुने प्रकृतिका जाहेरीको तथ्यांक हामी राख्दैनौं,’ उनले भने ।
मिटरब्याजपीडितहरूले प्रहरी प्रशासनविरुद्ध २०८० जेठमा पटकपटक विरोधका कार्यक्रम गरेका थिए । त्यसपछि मात्रै प्रहरीले अनुचित लेनदेन शीर्षकमा दुई वटा मुद्दा मात्रै दर्ता गरेको थियो । त्यसपछि यस्तै विषयमा प्रहरीले नयाँ जाहेरी दर्ता गरेको छैन । मिटरब्याज आन्दोलनका अगुवा रामरिझन यादव प्रहरीबाट पनि साथ पाउन नसकेको बताउँछन् ।
नेपाल बार एसोसिएन, सिरहाका अध्यक्ष अधिवक्ता मदन साहले साहुकारसँग प्रमाण हुने र ऋणीसँग प्रमाण नहुने भएका कारण सोझासिधा र निरक्षर नागरिक फसेको बताउँछन् । देवानी मुद्दामा लिखतलाई नै बलियो प्रमाण मानिने भएका कारण अदालत र न्यायाधीशले त्यही आधारमा फैसला गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘देवानी मुद्दामा लिखतलाई नै बलियो प्रमाण मानिन्छ, प्रमाणका आधारमा साहुहरू बलिया हुन्छन्,’ उनले भने, ‘व्यावहारिक वा मौखिक रूपमा जे भए पनि पीडितसँग आवश्यक कागजी प्रमाण हुँदैन, यस्तो अवस्थामा अदालत, न्यायाधीश र पीडित पक्षका कानुन व्यवसायी पनि निरीह बन्नुपर्ने बाध्यता छ ।’
कागज तमसुक बनाएर जोकोहीले पनि लेनदेन गर्न पाउने कानुनी व्यवस्था नै गलत भएको उनले तर्क गरे । ‘जोकोहीले यसरी लगानी गर्न पाउने भएपछि व्यवसायकै रूपमा यसको विकास भयो,’ उनले भने, ‘हाम्रै छिमेक भारतमा सीमित व्यक्तिहरूलाई सरकारले यस्तो लगानीका लागि अनुमति दिएको हुन्छ, उनीहरू मापदण्डभित्र बसेर वैध ढंगले लगानी गर्छन्, अनि राज्यले उनीहरूसँग कर लिन्छ,’ उनले थपे, ‘तर, हाम्रोमा कानुनमै समस्या भयो ।’

समाचार

स्वर्णलक्ष्मी सहकारीपीडितको उजुरी दर्ता,एक अर्ब फिर्ताको माग

- कान्तिपुर संवाददाता

(काठमाडौं)
प्रहरी वृत्त कालिमाटीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितको उजुरी दर्ता गरेको छ । वृत्तले शुक्रबार ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । सहकारीका ५ सय २८ जना पीडितले करिब एक अर्ब रुपैयाँ बचत फिर्ताको माग गर्दै गरेको उजुरीका आवेदन गत आइतबार नै प्रहरीले संकलन गरे पनि वाग्मती प्रदेश कार्यालयबाट थप विवरण प्राप्त नभएको भन्दै दर्ता गरेको थिएन । वाग्मती प्रदेश कार्यालयबाट शुक्रबार उक्त सहकारीसम्बन्धी आवश्यक विवरण प्राप्त भएपछि उजुरी दर्ता भएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीपीडित संघर्ष समितिका अध्यक्ष सुमन खनालले बताए ।
‘०८० फागुन २९ को दरखास्त वा सूचना प्राप्त भई यस प्रहरी कार्यालयको दर्ता किताबमा मिति ०८१ वैशाख २१ मा दर्ता भयो,’ प्रहरीले पीडितलाई दिएको पत्रमा भनिएको छ । उक्त उजुरीको दर्ता नम्बर ८६७ रहेको पनि पत्रमा उल्लेख छ । पीडितहरूको उजुरी भइसकेकाले अब आफूहरूले आवश्यक अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ । ‘पहिलो चरणमा ५ सय २८ जना पीडितले करिब १ अर्ब रकम फिर्ताको माग गर्दै उजुरी दिएका छौं,’ अध्यक्ष खनालले भने, ‘उजुरी दर्तापछि पनि ५०/६० जना पीडितहरूको उजुरी प्राप्त भएको छ । थप उजुरी संकलन गरेर प्रहरीमा बुझाउँछौं ।’
ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रहेका जीबी राईको समूहले काठमाडौंमा सञ्चालन गरेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट मात्र १३ हजार बचतकर्ताको पौने ३ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको छ । ‘स्वर्णलक्ष्मीमा मात्र कुल बचतकर्ता करिब १३ हजार रहेको देखिन्छ । कतिपयको खाता दोहोरिएको होला,’ अध्यक्ष खनालले भने, ‘तर, सहकारीका व्यवस्थापकले दिएको जानकारीअनुसार करिब २ अर्ब ७४ करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।’ सिधा हिसाबले बचत फिर्ता हुने नदेखिएपछि आफूहरूले प्रहरीमा उजुरी गरेको र थप कानुनी प्रक्रियामा जाने तयारीमा रहेको खनालले बताए ।
जीबी राईद्वारा पोखरामा सञ्चालित सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका पीडितले तीन साताअघि संयुक्त विज्ञप्ति जारी गर्दै सहकारीबाट गैरकानुनी रूपमा ऋण लिएका कम्पनी र ती कम्पनीका सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ, सहारा बचतपीडित संघर्ष समिति संयोजक शालिकराम दुवाडी र सुप्रिम सहकारीपीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै ती कम्पनीमा भएका लगानी फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
‘जीबी राई समूहले सञ्चालन गरेका सहकारी हाम्रो कृषि सहकारी संस्था, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिम, वीरगन्जको सानोपाइला र नेपालगन्जको समानता सहकारीको अर्बौं रुपैयाँ नेपाल सरकारको ऐन कानुन र सहकारी ऐनविपरीत लगानी गर्न नमिल्ने नाफामूलक विभिन्न कम्पनी तथा संघसंस्थामा लगानी गरी हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना हुँदासमेत यो सरकार मौन छ,’ विज्ञप्तिमा भनिएको छ । यी सहकारीबाट जीबी राई सम्हूको गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्ब, नेचर नेस्ट, गोर्खा ग्रुप अफ इन्भेस्टमेन्ट, स्प्रिङउड रियल स्टेट एन्ड हाउजिङलगायत कम्पनीमा करोडौं रुपैयाँ ऋण प्रवाह भएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छानबिन प्रतिवेदनमा जीबी राई समूहको संलग्नतामा विभिन्न कम्पनीमा करोडौं रुपैयाँ ऋण प्रवाह गरी अपचलन गरेको उल्लेख छ । चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा समस्या देखिएपछि ०८० असोज ९ बाट छानबिन हुँदा बनेको प्रतिवेदनमा विभिन्न ९/१० वटा कम्पनीमा करोडौं रुपैयाँ जीबी राईलगायत अन्य व्यक्तिको मिलेमतोमा दुरुपयोग भएको देखिन्छ ।
०८० चैत ४ मा तीमध्ये ६ वटा कम्पनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पीडितले जाहेरी दरखास्त बुझाएका थिए । त्यति बेला कम्पनीको तीनपुस्ते विवरण नभएको भन्दै उक्त विवरण उपलब्ध गराएपछि प्रक्रिया अघि बढाउने सहमति भएको थियो । कम्पनी र तिनका सञ्चालकविरुद्ध मुद्दा दर्ताको प्रक्रिया हालसम्म अघि बढेको छैन ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बन्धमा ०८० भदौमा प्रहरीमा जाहेरी परेपछिको छानबिनमा जीबी राई समूहको संलग्नतामा करोडौं रुपैयाँ कम्पनीको नाममा ऋण लगानी गरेको फेला परेको थियो । ०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीपीडितले १४ वटा विभिन्न कम्पनीविरुद्ध दिएको जाहेरी दरखास्त पनि हालसम्म अलपत्र बनेर प्रहरी
कार्यालयमै थन्किएर संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताए ।
‘यी सबै कामकारबाहीको विषयमा कुनै पनि कुरा अघि नबढ्नु, ती कम्पनीका सञ्चालक र उनीहरूको व्यापार, व्यवसाय र लगानी, ती कम्पनीका धनसम्पत्ति र आयस्रोत र कम्पनीको हालको अवस्थाबारे कुनै पनि छानबिन, अनुसन्धान र कारबाही नहुनु पछाडिको रहस्य हामीले बुझेका छैनौं,’ उनले भने, ‘यो सरकारले ती सम्पूर्ण कम्पनीको आयआर्जन र धनसम्पत्तिको कुनै अनुसन्धान र रोकछेक नगर्नुको पछाडिको कारण आम सहकारीपीडितलाई प्रस्ट पारियोस् ।’ प्रहरी प्रशासनले पनि सहकारीबाट बचत लगेर अर्बौं रुपैयाँ दुरुपयोग गर्ने कम्पनीविरुद्ध जाहेरी नलिनुको कारण प्रस्ट पार्नुपर्ने उनले जनाए ।
यसैबीच, सहकारी समस्या समाधानका लागि सरकारले ठोस निर्णय गर्ने तयारी भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । सिंहदरबारमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी टोलीसँगको भेटघाटमा आइतबार प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको दाबी गरे ।
‘अर्थतन्त्र संकटउन्मुख पनि छैन, चलायमान पनि हुन सकेको छैन,’ प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन ।’ अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको उनको भनाइ छ । भेटमा चेम्बरले प्रधानमन्त्री दाहाललाई अर्थतन्त्रको वर्तमान अवस्था र सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अविलम्ब पहल गर्नसमेत ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष अग्रवालले वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्नेलगायत सुझाव दिए । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरूलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्छ ।’

Page 9
परदेश

बिहार चुनावमा 'जातीय फ्याक्टर’ निर्णायक

- राजेश मिश्र

(मुजफ्फरपुर, बिहार)
बिहारमा पटनापछिको प्रमुख सहर हो– मुजफ्फरपुर । नेपालसँग सीमा जोडिएका बिहारका जिल्लाको केन्द्र र उत्तर बिहारको अघोषित राजधानी मुजफ्फरपुरलाई मानिन्छ । नेपालको सीमाबाट ८० किलोमिटरभित्र रहेको यस सहरको चुनावी राजनीति अन्यत्रको भन्दा फरक छ । चुनावको मुखमा कांग्रेस वा अन्य पार्टीबाट भाजपामा जानेको संख्या ठूलो देखिँदा यहाँ भने भाजपाबाट लगातार दुई पटक विजयी सांसद कांग्रेस प्रवेश गरेर चुनाव लडिरहेका छन् ।
अघिल्ला दुई पटक भाजपाबाट चुनाव जितेका सांसद अजय निषादले अहिले पार्टी बदलेका हुन् । २०१९ को निर्वाचनमा निषादले ४ लाख मतान्तरले चुनाव जितेका थिए । भाजपाले उनलाई टिकट नदिएपछि कांग्रेसले आफूतिर तानेर यहाँको राजनीतिक कोर्सलाई बदल्ने प्रयास गरेको बताइएको छ । यहाँ भाजपाको ‘हाइट्रिक’ को प्रयासलाई निषादमार्फत विपक्षी इन्डिया गठबन्धनले रोक्ने प्रयास गरेको छ । भाजपाले डा.राजभूषण चौधरी निषादलाई उम्मेदवार बनाएको छ । उनी अघिल्लो लोकसभा चुनावमा विपक्षी गठबन्धनबाट उम्मेदवार थिए ।
मुजफ्फरपुरका पत्रकार तथा चुनावी विश्लेषक अमरेन्द्र तिवारी २०१९ मा हारेका उम्मेदवार त्यतिबेला जितेको पार्टीबाट तथा जितेका व्यक्ति हारेका पार्टीबाट उम्मेदवार भएर यहाँको चुनावमा रोचकता ल्याएको बताउँछन् । भाजपाले निषादजस्तै लोकसभा सांसदहरू बक्सरबाट अश्विनीकुमार चौबे, शिवहरबाट रमा देवी र सासाराम छेदी पासवानको टिकट काटिएको छ । पत्रकार तिवारी ब्राह्मण, मलाह र दलित समुदायबाट अघिल्लो पटक जितेका सांसदको टिकट काटिँदा त्यसको नकारात्मक प्रभाव परेको विश्लेषण गर्छन् । विपक्षी गठबन्धनले टिकट वितरणमा सामाजिक समीकरणलाई विशेष ध्यान दिएकाले त्यसले भाजपाको चुनौती बढाएको उनले बताए ।
बिहारमा लोकसभाको ४० सिट छ । २०१९ मा भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३९ सिट जितेको थियो । त्यसमा भाजपाले १७, जनता दल युनाइटेडले १६ र लोक जनशक्ति पार्टीले ६ स्थानमा जित निकालेका थिए । विपक्षी गठबन्धनबाट कांग्रेसले १ सिट मात्रै जितेको थियो ।
बिहारका मुख्यममन्त्री नितिश कुमारले गत वर्ष भाजपाविरुद्ध विपक्षी पार्टीलाई एकत्रित गरेर ‘इन्डिया’ गठबन्धन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भाजपाको कित्ताबाट नितिश विपक्षी कित्तामा गएसँगै बिहारमा भाजपा धेरै कमजोर स्थितिमा पुगिसकेको थियो । बिहारका मुख्य दुई दल लालु यादवको राष्ट्रिय जनता दल, नितिशको जनता दल युनाइटेड एक ठाउँमा आएका थिए । त्यसबाहेक कांग्रेस र कम्युनिस्ट पनि गठबन्धनमा हुँदा २०१९ को विपरीत यस वर्ष विपक्षीले बिहारको अधिकांश सिट जित्ने आकलन थियो । तर, गत जनवरीमा नितिश कुमारले बिहार मात्रै होइन, पूरा देशको राजनीतिलाई तरंगित पार्ने गरी विपक्षी ‘इन्डिया’ गठबन्धनबाट आफूलाई अलग
गर्दै पुनः भाजपा समाउन
पुगे । नितिशको बहिर्गमनले भाजपालाई सत्ताबाट बेदखल गराउन ‘इन्डिया’ गठबन्धनलाई ठूलो धक्का पुग्यो । बिहारको समीकरण पनि
उलटफेर भयो ।
दरभंगा निवासी राजनीतिक विश्लेषक एवं दिल्ली विश्वविद्यालयका पूर्वप्राध्यापक डा.प्रदीपकान्त चौधरी नितिशको बहिर्गमनले विपक्षी गठबन्धनले सोचेजस्तो लाभ पाउने स्थिति नरहेको बताउँछन् । तर, अघिल्लो पटक जस्तो खराब स्थिति पनि नरहने उनको आकलन छ । पटक–पटक यताउता गर्नाले मुख्यमन्त्री नितिश कुमारको छवि खराब भएको उनको दाबी छ । उनले त्यसको असर लोकसभा चुनावमा पर्ने देखिएको बताए ।
‘नितिशको राष्ट्रिय जनता दल युनाइटेडले केही सिट लुज गर्न सक्ने सम्भावना छ । भाजपा पनि कम्फर्टेबल पोजिसनमा देखिँदैन,’ उनले भने, ‘मोदीजीको करिश्मामाथि मात्रै सत्तारूढ गठबन्धनको शक्ति टिकेको छ । त्यसले मात्रै परिणाम दिने हो ।’ जमिनी स्तरमा राजदका नेता तेजस्वी यादवले सत्तारूढ गठबन्धनलाई कडा टक्कर दिइरहेका छन् । लालु यादव अस्वस्थताका कारण थोरैमात्र सभामा पुगे पनि उनका छोरा पूर्वउपमुख्यमन्त्री तेजस्वीले लगातार चुनावी कमान्ड सम्हालेका छन् । २०२० मा भएको विधानसभा निर्वाचनमा उनको अगुवाइमा पार्टीले राम्रो प्रदर्शन गरेको थियो । २ सय ४३ सिटको विधानसभामा राजद ७९ सिट
ल्याएर सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । दोस्रोमा भाजपाले ७४ र तेस्रोमा नितिशको जदयुले ४५ सिट ल्याएका थिए । तेस्रो दल भएर पनि कहिले राजद त कहिले भाजपासँग मिलेर नितिश लगातार मुख्यमन्त्रीमा कायम छन् ।
बिहारको चुनावमा कसैको जित–हारमा जातीय विषयले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको प्राध्यापक चौधरी बताउँछन् । विकासको मुद्दा वा राजनीतिक विचारभन्दा यहाँ जातीय पक्ष हाबी हुँदै आएको र त्यसले नै निर्णायक भूमिका खेल्ने गरेको उनको भनाइ छ ।
पत्रकार तिवारीले पनि नितिश कुमारको आकर्षण घटेकाले त्यसको लाभ लालुको राजदले पाउन सक्ने विश्लेषण गर्छन् । २०१९ को जस्तो भाजपाको लहर नदेखिएको उनले बताए । दुई चरणको चुनावमा मतदानको प्रतिशत घट्नुले पनि त्यसको घाटा सत्तारूढ पक्षलाई हुने आकलन उनको छ । बिहारमा अधिकांश सिटमा एनडीए र इन्डिया गठबन्धनका उम्मेदवारबीच द्विपक्षीय प्रतिस्पर्धा छ । तर, कतै कतै भने त्रिपक्षीय प्रतिस्पर्धा पनि रहेको तिवारीले बताए । पूर्णिया सिटमा पप्पु यादवले स्वतन्त्र उम्मेदवारी दिएर त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धा बनाएका छन् । त्यस्तै, मुस्लिम बाहुल्य क्षेत्रमा असदुद्दीन ओवैसीको अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले उम्मेदवारी दिएर द्विपक्षीय भिडन्तलाई त्रिपक्षीय बनाएको छ । पत्रकार तिवारी स्थानीय तहमा सत्तारूढ दलसँग असन्तुष्टि पनि देखिएकाले एनडीएको जित मोदी ‘म्याजिक’ मै निर्भर रहेको टिप्पणी गर्छन् । मोदी र नितिशले लालुमाथि परिवारवादको आरोप लगाइरहँदा एनडीए गठबन्धनमै कतिपय उम्मेदवार आफ्ना पिताको राजनीतिक विरासत थामिरहेकाले त्यो आरोपले पनि हावा खाइसकेको उनले उल्लेख गरे ।
बिहारमा विपक्षी गठबन्धनबाट ५ सिट वाम दलले पाएको छ । बेगुसराय, खगडिया, नालंदा, आरा र काराकाट लोकसभा सिट अलग–अलग तीनवटा कम्युनिस्ट पार्टीको भागमा परेको छ । राजदले २६ र कांग्रेसले ९ सिट पाएका छन् । राजदले आफ्नो भागबाट ३ सिट अन्य साना दललाई दिएको छ । सत्तारूढ एनडीए गठबन्धनमा भाजपाले १७,
जदयुले १६, लोक जनशक्ति पार्टी ५ र अन्यले २ सिट पाएको छ ।
बिहारमा ‘कास्ट पोलिटिक्स’ हाबी भएकाले सबै कम्युनिस्ट दलसम्मले जातिगत भोट हेरेर उम्मेदवारको चयन गरेका छन् । बिहारको १३ करोड जनसंख्यामा ७ करोड ४६ लाख मतदाता छन् । जातिमा यादव र मुस्लिम अग्रस्थानमा छन् । लालु यादवले मुस्लिम–यादवको ३० प्रतिशत भोटलाई आफ्नो पक्षमा राख्ने राजनीति गर्दै आएका छन् । नितिश कुमार आफू कुर्मी जातिबाट छन् । उनले कुर्मी, कोइरी र अति पिछडा जातिहरूको ३६ प्रतिशत भोटमाथि नजर राखेका छन् । भाजपाले कथित उपल्लो सवर्ण जातिको भोट बैंकलाई आफ्नो मान्दै आएको छ ।

परदेश

इजरायलमा अलजजिरालाई प्रतिबन्ध

- कान्तिपुर संवाददाता


जेरुसेलम (रासस/एएफपी)– इजरायलको सरकारले समाचार संस्था अलजजिरालाई प्रतिबन्ध लगाएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार कतारद्वारा सञ्चालित अलजजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका हुन् । ‘इजरायलमा अलजजिरालाई बन्द गरिने सर्वसम्मतिले निर्णय गरिएको छ,’ उनले सामाजिक एक्समा उल्लेख गरेका छन् ।
इजरायलका सञ्चारमन्त्री स्लोमो कारहीले विज्ञप्तिमा इजरायलमा हमास पक्षधरहरूलाई वाक् स्वतन्त्रता नहुने बताए । ‘अलजजिरालाई तुरुन्त बन्द गरिनेछ र उपकरणहरू जफत गरिनेछन्,’ विज्ञप्तिमा भनिएको छ । सम्पादन र राउटिङ उपकरण, क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटपका साथ वायरलेस ट्रान्समिसन उपकरण र केही सेलफोन जफत गर्न उनले आदेश जारी गरेका हुन् । इजरायल र प्यालेस्टिनी क्षेत्रमा अलजजिराको कार्यालय प्रमुख रहेका वालिद अल–ओमारीले उक्त निर्णयमाथि प्रतिक्रिया दिँदै इजरायलका चरम दक्षिणपन्थी मन्त्रीको सहज जितको खोजीको एउटा अभियान रहेको बताए ।

Page 10
समाचार

१ सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपाल सरकारले १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखेर जारी गर्ने निर्णय गरेसँगै त्यसलाई लिएर देशभित्र र विदेशमा पनि चर्चा भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्न लागिएका १ सय रुपैयाँका नयाँ नोटमा नेपालको चुच्चे नक्सा समावेश गर्ने निर्णय गरेको थियो । भारतले भने उक्त निर्णयमाथि असन्तुष्टि जनाएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनेकी थिइन्, ‘हाल चलनचल्तीमा रहेको रुपैयाँ १ सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।’ अहिले प्रचलनमा रहेको १ सय रुपैयाँको नोटमा पुरानै नक्सा समावेश छ । नयाँ नक्सा जारी भएपछि सोहीअनुसार डिजाइन परिवर्तन गर्ने निर्णय भएको मन्त्री शर्माले भनाइ थियो ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नोटका सुरक्षणको कामबाहेक आकार, चित्र र दर परिवर्तन गर्दा सरकार (मन्त्रिपरिषद्) को स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको बताए । ‘सबै अवस्थामा सरकारको स्वीकृति लिने भन्ने होइन । तर, आकार, चित्र, दरलगायत विषय परिवर्तन गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्छ,’ उनले भने । नोट छपाइ तथा सिक्का टकमरीसम्बन्धी निर्देशिका २०६५ को परिच्छेद ८ मा नोट छपाइ तथा सिक्का टकमरीसम्बन्धी व्यवस्था छ । ‘नयाँ डिजाइन हुने नोटको हकमा नोटको चित्र, दर र आकार नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि र पुरानै डिजाइनको पुनः छपाइ गरिने वा चित्र, दर र आकारबाहेक अन्य कुरामा परिवर्तन गरी छपाइ गरिने नोटको हकमा समितिबाट स्वीकृत प्राप्त भएपछि विभागले नोट छपाइ प्रक्रिया अघि बढाउनेछ,’ निर्देशिकामा उल्लेख छ ।
निर्देशिकामा विभागले छपाइ गर्नुपर्ने नोट वा टकमरी गर्नुपर्ने सिक्काको दरअनुसारको परिमाण विश्लेषण गरी स्वीकृतिका लागि गभर्नरसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ । नयाँ डिजाइन गरिने नोट वा सिक्काको हकमा त्यस्तो नोट वा सिक्काको दर र छपाइ वा टकमरी गर्नुको औचित्यसमेत खुलाई विभागले सिफारिससहित प्रस्तावका रूपमा अधिकार प्राप्त अधिकारीसमक्ष पेस गर्नुपर्ने प्रावधान छ ।
नेपालले २०७७ जेठ ७ गते नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले एक विशेष कार्यक्रमका बीच कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् । त्यसलाई पछि नेपालको संघीय संसद्ले अनुमोदन गरेको थियो । नेपालले सुगौली सन्धिअनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको हो । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । नेपालको नयाँ नक्सामा लिम्पियाधुरामाथिबाट बग्ने काली नदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ ।

समाचार

भारतको असन्तुष्टि

- कान्तिपुर संवाददाता


नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतले भने प्रस्ट रूपमै असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको एकपक्षीय निर्णयले ‘अवस्था नबदलिने’ बताएका छन् । ओडिशाको भुवनेश्वरमा शनिबार आयोजित एक पत्रकार सम्मेलनमा उनले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताए । नेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा
बुझ्दा विदेशमन्त्री जयशंकरले भने, ‘मैले त्यो रिपोर्ट देखें पनि विस्तृतमा भने हेरेको छैन । तर यसमा हाम्रो धारणा प्रस्ट छ । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौं । यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरू (नेपाल) ले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र स्थलको यथार्थ परिवर्तन हुँदैन ।’
विदेशमन्त्री जयशंकरले सीमा मुद्दाबारेमा भारतले स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएको दाबी गरे पनि नेपालले भारतलाई पटक–पटक सीमा समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न कूटनीतिक नोट पठाएको थियो । एकातर्फ भारतबाट कुनै पनि जवाफ नआउनु र अर्कोतर्फ नेपालको भूभाग हुँदै भारतबाट चीनको सीमा नाका पुग्ने सडक सञ्जालको निर्माण गर्दै उद्घाटन गरेपछि नेपालले विरोध गरेको थियो । २०७६ सालमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपालको भूभाग समेटेर नक्सा निकालेको थियो । त्यसपछि नेपालले भारतलाई कूटनीतिक नोट पठाएर विरोध गर्‍यो ।
साथै, समस्याको समाधान गर्न कूटनीति वार्ताका लागि आग्रह गर्‍यो । तर भारतले कोभिड–१९ को महामारीको कारण देखाउँदै वार्तालाई टार्‍यो । भारतले नेपालले पठाएको कूटनीतिक नोटको जवाफ पनि दिएन । पछि २०७७ को वैशाख २६ मा रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभागमा भारतले निर्माण गरेको सडकको उद्घाटन गरे । त्यसमाथि नेपालले फेरि आपत्ति जनायो र वार्ताका लागि कूटनीतिक पहल गर्‍यो । तर भारतले उक्त कूटनीतिक पहललाई पनि वास्ता नगरेपछि नेपालले बाध्य भएर आफ्नो भूभाग समेटिएको नयाँ चुच्चे नक्सा ल्याएको थियो ।

Page 11
Page 12
समाचार

लप्चीवासीलाई सीमा पार गर्न पास दिइँदै

- केदार शिवाकोटी

(दोलखा)
सीमा पास नहुँदा चीनका खर्कमा चौंरी चराउन नपाएका लप्चीका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउन थाले पनि भौगोलिक विकटताका कारण सदरमुकाम आउन सास्ती भएपछि वितरण हुन सकेको छैन । प्रशासनले पहिलो चरणमा सीमा क्षेत्रका ५० जनासम्मलाई उपलब्ध गराउने गरी पास बनाएको छ । भौगोलिक विकटताका कारण लप्चीका बासिन्दाले सदरमुकाम आउन नसक्दा पास प्रशासनमै थन्किएको हो ।
चीनसँग सीमा जोडिएको दुर्गम लप्चीवासीको चरन क्षेत्र चीनतर्फ पर्छ । चीनतर्फ जान सीमावासीलाई पास अनिवार्य गरेपछि स्थानीयले प्रशासनलाई पास उपलब्ध गराइदिन आग्रह गर्दै आएका थिए । बिगु गाउँपालिका–१ लप्चीका स्थानीयले याकचौंरीलाई चरन क्षेत्रदेखि खाद्यान्न जोहो गर्ने मुख्य बजार चीनतर्फ छ । चीन सरकारले लप्चीको रामदुङ नाका स्थानीयका लागि ५ वर्षपछि पूर्ण रूपमा खुला गरेको छ । तर चीनको बजार र चरण क्षेत्रमा जान नेपाल सरकारले सीमाका बासिन्दालाई उपलब्ध गराएको पास अनिवार्य गरेको छ । मुख्यगरी हिउँददेखि वर्षासम्म लप्चीका स्थानीय गोठाला याकचौंरी खेदेर चीनतर्फको चरण क्षेत्रमा गोठ लैजाने गर्छन् । विगतमा नागरिकताका आधारमै चीनका सुरक्षाकर्मीले आउजाउ गर्न दिए पनि हाल भने पास अनिवार्य गरेको छ । चीनका बजारमा आउजाउ र चरण क्षेत्रमा जाने गोठालाका लागि प्रशासनले पास बनाइसकेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए । हालसम्म बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली र सीमा जोडिएको वडा १ का अध्यक्ष मेम्वा तामाङले मात्रै पास लिएको उनले बताए । ‘पास नभएपछि चीनका खर्कमा चौंरी चराउन नपाएको सीमावासीले गुनासोपछि परराष्ट्र मन्त्रालयबाट नमुना मागेर छापेका छौं,’ उनले भने, ‘भौगोलिक विकटताका कारण वितरण गर्न सकेका छैनौं, सीमावासी पनि लिन आएका छैनन् ।’ गाउँपालिका र स्थानीयसँगको समन्वयमा लप्ची पुगेर पास वितरण गर्ने तयारी गरिरहेको उनले बताए ।
गत असोजमा चीनले अनौपचारिक रूपमा सीमा नाका खुला गरेपछि स्थानीयले चौंरीका बाच्छा र घिउ बेचेर खाद्यान्न जोहो गरेका थिए । सोही आधारमा हिउँदमा लप्चीवासीले चरनका लागि याकचौंरी लैजान खोज्दा चिनियाँ सुरक्षाकर्मीले सीमामा नै रोकेर पास अनिवार्य लिएर आउनु भनेपछि स्थानीयले सीमा पासको माग गरेका हुन् । लप्ची नाकाबाट चिनियाँ बजार जाँदा स्थानीयले यसअघि पास प्रयोग गर्ने गरेका थिएनन् । तर चिनियाँ सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै अनिवार्य आधिकारिक पास मागेपछि सीमावासीले नेपाल सरकारसँग पास उपलब्ध गराइदिन आग्रह गरेका थिए । यसअघि लप्चीवासीले चिनियाँ पक्षको मौखिक सहमतिमा सीमा आउजाउ गर्ने गरेका थिए । लप्चीवासीका लागि प्रशासनले पास तयार गरिदिएकाले छिटै स्थानीयलाई सीमा पास गाउँमै उपलब्ध गराइदिने गरी समन्वय भइरहेको वडा १ का अध्यक्ष मेम्वा तामाङले बताए । ‘लप्चीका पास चाहिने स्थानीय सबैका नागरिकता संकलनको काम भइरहेको छ,’ उनले भने, ‘सबैलाई भौगोलिक विकटताका कारण लामबगर बोलाउन पनि सहज नभएकाले जेठको दोस्रो सातासम्म प्रशासन र वडा कार्यालयको टोली त्यही पुगेर पास बनाइदिन्छौं ।’
भौगोलिक विकटता र बाटोसमेत बिग्रिएका कारण स्थानीयलाई चरिकोट ल्याउन निकै कठिन र खर्चिलो हुने स्थानीय फुर्वाथार्के शेर्पाले बताए । ‘निकै कठिन भौगालिक अवस्था छ, डोरीमा झुन्डिएर जोखिम मोलेर हिँड्नुपर्छ,’ उनले भने, ‘चरिकोट पास लिन आउन कम्तीमा ३ दिन लाग्छ, आउन जान खर्च पनि धेरै हुन्छ ।’ वडा र पालिकाले समन्वय गरेर गाउँमै टोली ल्याइदिने भनेकाले केही दिन ढिलो भए पनि पर्खेको उनले बताए । लप्चीका स्थानीयले पालेका याकचौंरीको मुख्य चरन क्षेत्र चीनको राम्दुङलगायतको क्षेत्र हो । खाद्यन्नदेखि सबै कुरा उताकै बजारमा निर्भर हुनुपर्ने बाध्यता रहेको उनले बताए । पास नभएका कारण हालसम्म चीनका चरन क्षेत्रमा चौंरी लान नसकिएको उनले बताए । पछिल्लो समय सीमाबाट सुन तस्करीका गतिविधि भएपछि सीमामा कडाइ भएको उनले बताए । ४८ घर रहेको लप्चीमा करिब १ सय ५० जनसंख्या छ । लप्चीवासीको खाद्यन्नलगायतको किनमेलको मुख्य बजार पनि चीनको राम्दुङ हो । यी परिवारका १ हजारभन्दा बढी याकचौंरी छन् । लप्चीवासीको याक र चौंरी चरन क्षेत्र पनि चीनतर्फको खर्क हुन् । सीमाका स्थानीयले याकचौंरी चराउन चरन क्षेत्र प्रयोग गरेबापत ७ सय ५० ग्राम घिउ चीन सरकारलाई बुझाउने गरेका छन् । सीमामा आउजाउ बन्द गरिएपछि प्रतिपरिवार ४ सय केजी चामल ढुवानी गरेर लप्ची लानुपर्ने बाध्यता सीमावासीको छ । पास बनेपछि भने सीमावासीको दैनिकी सहज हुने रेछेन शेर्पाले बताए ।

 

Page 13
अर्थ वाणिज्य

बढ्यो आयु, औसत ७१.३ वर्ष बाँच्छन् नेपाली

- यज्ञ बञ्जाडे

(काठमाडौं)
एक दशकअघिको तुलनामा नेपालीको औसत आयु झन्डै पाँच वर्ष बढेर ७१ वर्षभन्दा बढी पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको देखाएका हुन् । नेपालीको औसत आयु ०७८ मा ६६.६ र ०५८ मा ६०.४ वर्ष थियो । औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
औसत आयु झन्डै साढे ७१ वर्ष रहे पनि पुरुषभन्दा महिला करिब साढे ५ वर्ष बढी बाँच्ने प्रतिवेदनले देखाएको छ । ०७८को जनगणनाअनुसार पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष छ । ०६८ को जनगणनाले पुरुषको औसत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको देखाएको थियो । ०३८ सालमा पुरुषको तुलनामा महिलाको औसत आयु कम थियो । पछिल्लो ५० वर्षमा यस प्रवृत्तिमा व्यापक परिवर्तन आई महिलाको औसत आयु बढी देखिएको छ ।
महिलाको तुलनामा पुरुषको आयु कम हुनुमा पछिल्लो दशकमा नेपालले भोग्नुपरेका प्राकृतिक तथा कोरोना महामारीको मृत्युदर पुरुषको बढी हुनु रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए । ‘महिलाको तुलतामा दुर्घटनामा बढी पुरुष परेको देखिनु, मदिरा र लागुऔषध सेवनको मारमा पुरुष बढी देखिनु तथा विदेश जाने संख्यामा पुरुष बढी हुँदा कार्यक्षेत्रमा हुने दुर्घटनाले समेत पुरुषको मृत्युदर बढी देखाएको छ,’ उनी भन्छन्, ‘जन्मेदेखि नै शिशु र बाल मृत्युदरमा छोरीको तुलनामा छोराको मृत्युदर बढी देखिन्छ । यसको प्रभाव औसत आयुमै देखिएको हो ।’
पछिल्लो ५० वर्षमा नेपालीको औसत आयु साढे २१ वर्षले बढेको छ । कार्यालयका अनुसार ०३८ सालको जनगणनामा औसत आयु ४९.८ वर्ष देखिएको थियो । २०४८ सालमा वृद्धि भई ५४.३ वर्ष पुगेको थियो । ०५८ सालमा ६०.४ वर्ष पुगेको थियो । ०६८ सालमा ६६.६ वर्ष पुगेको औसत आयु पछिल्लो जनगणनाले ७१.३ वर्ष पुगेको देखाएको छ । आँकडाअनुसार पछिल्लो १० वर्षमा मात्र ४.७ वर्षले औसत आयु बढेको छ ।
प्रदेशगत रूपमा हेर्दा कर्णालीमा मानिस सबैभन्दा धेरै वर्ष बाँच्ने गरेको देखिएको छ । यस प्रदेशको औसत आयु ७२.५ वर्ष देखिएको छ भने लुम्बिनी प्रदेशको सबैभन्दा कम ६९.५ वर्ष छ । वाग्मती प्रदेशमा औसत आयु ७२.४ वर्ष, गण्डकीमा ७२.१ वर्ष, मधेशमा ७१.८ वर्ष, कोशीमा ७०.४ वर्ष र सुदूरपश्चिमा ७१.३ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ । ‘महिलाको औसत आयु सबैभन्दा धेरै कर्णालीमा ७५.५ वर्ष भने सबैभन्दा कम लुम्बिनीमा ७२.५ वर्ष छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गण्डकीमा महिलाको औसत आयु ७५.४ वर्ष र मधेशमा ७३.२ प्रतिशत छ ।’ कोशीमा ७२.८, सुदूरपश्चिममा ७५.२ र गण्डकीमा ७५.४ वर्ष छ ।
प्रदेशगत रूपमा हेर्दा मधेशमा पुरुषको औसत आयु सबैभन्दा बढी ६९.९ वर्ष छ भने सबैभन्दा कम लुम्बिनीमा ६६.१ वर्ष छ । सूदूरपश्चिममा ६६.९, कोशीमा ६७.५, गण्डकीमा ६८.१, कर्णालीमा ६९.२ र वाग्मतीमा ६९.६ वर्ष पुरुषको औसत आयु छ ।
स्वास्थ्य क्षेत्रमा बढेको सरकारको लगानीको प्रतिफल औसत आयुमा देखिएको प्रतिवेदनले औंल्याएको छ । अर्कातर्फ, विद्यालय शिक्षाले बढाएको स्वास्थ्य सचेतनाले समेत औसत आयु बढाउन भूमिका खेल्ने गरेको बताइएको छ । ‘०३८ सालमा १३.५ जना रहेको कोरा मृत्युदर ०७८ सालमा आएर ६.८ जनामा झरेको छ । कोरा मृत्युदर (कुनै निश्चित ठाउँमा एक वर्षभरिमा प्रतिहजार जनसंख्यामा मृत्यु हुने व्यक्तिको संख्या) हरेक जनगणनाले घट्दै गएको प्रतिवेदनले देखाएको हो ।
शिशु मृत्युदरको तथ्यांक केलाउँदा
प्रतिहजार जीवित जन्ममा एक वर्ष उमेर नपुग्दै मुत्यु हुने शिशु संख्या १७ छ । ०६८ मा यस्तो संख्या ४० र ०५८ मा ६४ थियो । ०३८ सालमा प्रतिहजार जीवित जन्मेका शिशुमध्ये औसत १ सय १७ जनाको मृत्यु हुने गरेको थियो । शिशुको मृत्युदरमध्ये छोरीको तुलनामा छोराको बढी देखिन्छ । छोराको प्रतिहजार मृत्युदर १९ रहँदा छोरीको १५ रहेको देखिएको छ । ०६८ मा छोराको मृत्यूदर प्रतिहजारमा १२ र छोरीको ११ थियो ।
नेपालको जनसंख्या वृद्धिदर पनि निरन्तर घट्दै गएको प्रतिवेदनले देखाएको छ । नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ । प्रदेशगत रूपमा हेर्दा लुम्बिनी प्रदेशको सबैभन्दा बढी जनसंख्या वृद्धिदर १.२४ छ भने मधेशको १.१९ प्रतिशत छ । बाँकी प्रदेशमध्ये कोशीको ०.८६, वाग्मतीको ०.९७, गण्डकीको ०.२५, कर्णालीको ०.७० र सुदूरपश्चिमको ०.५२ प्रतिशत छ ।

अर्थ वाणिज्य

लेबलिङ अनिवार्य गर्छ, कार्यान्वयन गर्दैन सरकार

- राजु चौधरी

(काठमाडौं)
सरकारले आयात हुने मालवस्तुमा लेबलिङ अनिवार्य गरे पनि कार्यान्वयन गर्न सकेको छैन । भन्सार विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छुट्टाछुट्टै सूचना प्रकाशन गरेर कार्यान्वयन गर्न भने पनि लागू भएको छैन । सरकारले उपभोक्ता संरक्षण ऐन ०७५ मा भएको व्यवस्थालाई आर्थिक ऐन ०८० को दफा १८ को उपदफा ४ मा पनि व्यवस्था गरी लागू गर्न खोजेको छ । यसका लागि भन्सार विभागले आर्थिक विधेयकमा समावेश गरेर असार २२ मा लेबल लगाउनेसम्बन्धी सूचना जारी गरिसकेको छ । सूचनामा साउन १ देखि अनिवार्य लागू हुने जनाइएको छ । तर दुई–चार ठूला आयातकर्ताले आयातित मालवस्तुमा लेबलिङ गरे पनि अन्य व्यवसायी लेबलिङको पक्षमा छैनन् ।
‘अनिवार्य लेबल व्यावहारिक छैन, सरकारी निर्णय तस्करलाई सजिलो पार्ने उद्देश्यबाट प्रेरित छ । यो तस्करी फस्टाउने खेल हो,’ आयातकर्ता संघ नेपालका अध्यक्ष बल्लभराज सिग्देलले भने, ‘तराई क्षेत्रमा करिब ५० प्रतिशत तस्करीका सामान आउँछ । ठूलो परिमाणमा आयात हुँदा सम्भव भए पनि सानो परिमाणमा आयात गर्दा अनिवार्य लेबल सम्भव छैन । उत्पादक कम्पनीले मान्दैन । यो सम्भव छैन ।’
सरकारीले कडाइ गरे दुई नम्बरी फस्टाउने व्यवसायीको दाबी छ । तस्करीबाट आयात गरिएका सामानमा स्टिकर राखेर बिक्रीवितरण बढ्ने उनको भनाइ छ । भन्सारले जारी गरेको सूचनामा साउन १ पछि आयात हुने तयारी मालवस्तु बजारमा बिक्रीका लागि पठाउँदा आयातकर्ता र वितरकको विवरण भएको लेबल हुनुपर्ने भनिएको छ । लेबल नगरी बजारमा पठाइएको पाइए त्यस्ता मालवस्तु सम्बद्ध नियमनकारी निकायले जफत गर्न सक्ने उल्लेख छ ।
आयातित मालवस्तुको लेबलमा पैठारीकर्ता, बजार वितरकको नाम, ठेगाना, इमेल, वेबसाइट, एक्जिम कोड विवरण उल्लेख हुनुपर्छ । बजारमा पठाउनुअघि अनिवार्य लेबल लगाउन सकिने पनि सूचना भनिएको छ । उद्योगको कच्चा पदार्थका रूपमा आयातित मालवस्तु, औद्योगिक मेसिनरी तथा उपकरण एवं निर्माण कार्यमा प्रयोग हुने संरचनाबाहेक उपभोक्तालाई प्रत्यक्ष बिक्रीवितरण हुने सबै प्रकारका मालवस्तुमा लेबल अनिवार्य गरिएको छ । लेबलको दुरुपयोग हुन नदिन पैठारीकर्ता तथा वितरकले लेबल लगाएर पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरी राख्नुपर्ने उल्लेख छ । तर कार्यान्वयन भएको छैन । भन्सारको सूचनामा व्यवसायीले आलटाल गरेपछि बजार अनुगमन गर्न जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि सूचना प्रकाशन गरेको छ । उसले लेबल सम्बन्धमा वैशाख ९ र २१ मा सूचना प्रकाशन गरेको छ । प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, ०३४ अनुसार लेबलिङ र अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण नगरे सम्बन्धित कार्यालयले प्राइभेट फर्मको रजिस्ट्रेसन खारेज हुने सूचनामा उल्लेख छ ।
सरकारले लागू गर्न खोजेको नियम व्यावहारिक नभएकाले कार्यान्वयन नभएको नेपाल उद्योग वाणिज्य महासंघ, वाग्मतीका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले बताए । ‘स्रोतमै लेबल भए मात्रै सम्भव हुने हो, यहाँ आएर मूल्यसूची सम्भवै छैन,’ उनले भने, ‘हामी कत्तिको सक्षम छौं, त्यो हेर्नुपर्छ । खुला सीमाका कारण हुने चोरी–तस्करीको जिम्मा कसले लिने ?’ व्यवसायीले कार्यान्वयन गर्न अटेरी गरिरहँदा भन्सार विभाग भने सूचना प्रकाशन गरेर मात्रै पन्छिएको छ । भन्सारले बजार नियमन गर्ने जिम्मा वाणिज्य विभागको रहेको बताउँदै पन्छिन खोज्छ । ‘भन्सार विभागले सूचना जारी गरेर व्यवस्था गरिदिएको छ । त्यसपछि कार्यान्वयन भए–नभएको हेर्ने र उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्ने जिम्मा वाणिज्य विभागको हो,’ भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने । वाणिज्य विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले भने ढिलो भए पनि कार्यान्वयन हुने दाबी गरे ।

अर्थ वाणिज्य

डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतासम्बन्धी आयोगले बुझायो प्रतिवेदन

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुलको बक्यौता विवाद समाधान गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई प्रतिवेदन बुझाएको हो । मौजुदा ऐन/कानुन, उद्योग–व्यवसायी र सम्बन्धित निकायसँग छलफल र बक्यौता विवादलाई तीन चरणको अध्ययन गरी फरकफरक राय दिइएको आयोगका अध्यक्ष गिरीशचन्द्र लालले बताए ।
०७२ साउनदेखि पुससम्म तत्कालीन महसुल निर्धारण आयोगबाट महसुल निर्धारण भइनसकेको, ०७२ माघदेखि ०७५ वैशाखसम्म तत्कालीन आयोगबाट महसुल निर्धारित भइसकेको र ०७५ जेठदेखि ०७७ असारसम्म प्राधिकरणको सूचनाअनुसार नै लोडसेडिङ अन्त्य भएको अवधिलाई केन्द्रित गरी आयोगले प्रतिवेदनमार्फत राय बुझाएको उनको भनाइ छ । ‘प्राधिकरणका औद्योगिक ग्राहकले उद्योगहरूलाई नियमित लाग्ने सबै बिल सामान्य शुल्क सामान्यतया समयभित्रै बुझाइसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विवादमा रहेका अर्थात् बक्यौता भनिएका सबै छुट लोडसेडिङको अवस्थामा आपूर्ति गर्ने भनिएका डेडिकेटेड लाइन र ट्रंकलाइनसम्बन्धी मात्र हुन् ।’
आयोगले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुल सम्बन्धमा कानुनअनुसार महसुल हुने प्रक्रिया र त्यस्तो अधिकार प्राप्त निकायका निर्णयहरूलाई समेत ध्यानमा राख्दै अध्ययन कार्य अघि बढाएको जनाएको छ । बक्यौतासम्बन्धमा कानुनी व्यवस्थाअनुसार नै आफ्नो राय प्रस्तुत गर्ने प्रयास गरेको आयोगको भनाइ छ ।
‘सरकारसमक्ष लामो समयदेखि विवादका रूपमा रहेको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुलसम्बन्धी विषयको दिगो समाधान गर्न यो प्रतिवेदन उपयोगी हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताको ०८० मंसिर मसान्तसम्म २२ अर्ब २४ करोड बक्यौता छ । बक्यौता उठाउन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन भन्दै पुस ६ बाट प्राधिकरणले बिजुली काट्न सुरु गरेका उद्योगको संख्या पुस २३ मा २४ पुगेको थियो । त्यसमध्ये हिमाल आइरनले बक्यौता रकम तिरेर बिजुली जोडेको थियो । बाँकी उद्योगका सञ्चालक भने प्राधिकरणले टीओडी मिटरको तथ्यांक नदेखाएसम्म बक्यौता नतिर्ने अडानमा थिए । प्राधिकरण भने बक्यौता उठाइछाड्ने अडानमा थियो । प्राधिकरणले बिजुली काट्न सुरु गरेदेखि नै उद्योगीले उच्चस्तरीय आयोग गठन गरी समस्या समाधान गर्नुपर्ने माग राख्दै आएका थिए । बिजुली काटिएको १९ औं दिनमा निजी क्षेत्रको मागअनुरूप सरकारले आयोग गठन गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघले पुस ९ मा विज्ञप्ति जारी गर्दै डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गर्न माग गरेको थियो । लगत्तै पुस १३ मा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रभावित उद्योगीको टोलीले प्रधानमन्त्री दाहालसँगको भेटमा जाँचबुझ ऐन, ०२६ का आधारमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्न माग गरेको थियो ।
गत पुस २४ मा मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद अध्ययन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । ऊर्जा मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, उद्योग मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडी आयोगका सदस्य थिए । आयोग गठनसँगै लाइन काटिएका २३ वटा उद्योगको विद्युत् सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको थियो । पुस २७ मा प्राधिकरणको सञ्चालक समितिको निर्णयपछि बल्ल उद्योगमा बिजुली जडान गरिएको थियो ।

अर्थ वाणिज्य

धराप बन्दै पुराना पुल, नयाँ निर्माण अलपत्र

- केदार शिवाकोटी

(दोलखा)
भीमेश्वर नगरपालिका–५ स्थित तामाकोशीमा मोटरेबल पुल बनेको दुई दशक भयो । यो पुल दोलखालाई तराई र राजधानीसँग जोड्ने लाइफलाइन हो । पुरानो भएपछि पुल विस्थापित गर्न आठ वर्षअघि ०७३ सालमा नयाँ निर्माणको ठेक्का लागेको थियो । तर निर्माण कम्पनीले पिलर मात्रै उठाएर काम छाड्दा पुल अलपत्र छ ।
दोलखालाई राजधानीसँग जोड्ने सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सुनकोशी नदीको पुलको काम पनि अलपत्र छ । नयाँ पुल निर्माण अलपत्र पर्दा पुरानै पुलबाट सवारीसाधन आउजाउ गरिरहेका छन् । पुरानो मोटरेबल पुल जीर्ण बनिसकेको छ । ४० वर्षअघि बनेका दुवै पुरानो मोटरेबल पुल विस्थापन गर्न ०७३ सालमा २० करोड रुपैयाँमा ठेक्का लागेको थियो । निर्माणको जिम्मा लिएको नीलगिरि–नेसनल जेभीले नयाँ पुलको दुवैतिर पिलर उठाएर अलपत्र छाडिदिएको छ । खाडीचौरमा निर्माण कम्पनीले कामसमेत सुरु गरेको छैन । सोही कम्पनीले खाडीचौरमा पुलको जिम्मा पनि लिएको थियो ।
आर्क ब्रिज डिजाइनमा बन्ने दुवै पुलको ठेक्का ०७३ मै लागे पनि काम भने अघि बढेको छैन । सदरमुकाम चरिकोटलाई तराईसँग जोड्ने महत्त्वपूर्ण तामाकोशी पुल अलपत्र परेपछि स्थानीयले पटकपटक पुरानो पुल भाँचिने अवस्थामा पुगेको भन्दै भारवाहक सवारीसाधनलाई आवतजावतमा रोक लगाउँदै आएका छन् । अरनिको राजमार्गबाट चरिकोटतर्फ आउने मुख्य लाइफलाइन सुनकोशीको पुल निमार्णको काम अघि बढाइदिन स्थानीयले सडक डिभिजनलगायत स्थानमा आग्रह गर्दै आएका छन् । ३ वर्षदेखि खाडीचौरको पुल निकै हल्लिन थालेको स्थानीय कर्म लामाले बताए । ‘पहिला पुल ठीकै थियो, केही वर्ष भयो गाडी गुडेपछि पुल निकै हल्लिन्छ,’ उनले भने, नयाँ पुल बनाउन पनि ठेक्का लागेका ८ वर्ष बित्यो कामको सुरसारै छैन ।’
दुवै पुल दोलखाका लाइफलाइन हुन् । जिरी, रामेछाप र तराईबाट सयौं मालवाहक र यात्रुवाहक सवारीसाधन तामाकोशी र सुनकोशीको पुरानै पुलबाट आउने जाने गरेका छन् । निमार्ण पक्षले पुल बनाउने ठाउँमा स्थानीय घरटहरा भएर काम सुरु गर्न नसकेको भन्दै गुनासोपछि दोलखाको भीमेश्वर नगरपालिका–५ र वैतेश्वर गाउँपालिका–६ तामाकोसी बजारमा प्रशासन र स्थानीय तहले ७ वर्षअघि घरटहरा हटाएको थियो । सडक चौडा पारिने र पुल बनाउने भनेर भएका टहरा हटाइए पनि पुल अलपत्र पारेको तामाकोशीका स्थानीय नवराज बस्नेतले बताए । ‘सडक चौडा भएको छ, पुल निर्माण गर्ने भनेपछि टहरा हटायौं,’ उनले भने, ‘पुल भने जग उठाएर अलपत्र पारिए पनि कसैले वास्ता गरेको छैन ।’ पुरानै जीर्ण पुलबाट आवतजावत गर्ने यात्रु र सवारीसाधन जोखिममा पर्दै गएको उनको भनाइ छ ।
जलविद्युत् आयोजनाका भारवाहक सवारीसाधनका कारण पुरानो पुल थप जीर्ण बनेर कुनै पनि बेला संरचना भाँचिने अवस्थामा पुगेका छन् । तामाकोशीमा ७५ मिटर लामो डबल लेनमा बन्ने आरसीसी आर्क ब्रिज डिजाइनमा नयाँ पुल निर्माणको काम ०७५ मा सकिनुपर्नेमा निर्माण कम्पनीले विभिन्न बहानामा काम नगरी अलपत्र अवस्थामा छाडिदिएको छ । तामाकोशीमा दुवैतर्फ जिप उठाइएको छ भने सुनकोशीमा काम नै सुरु हुन सकेको छैन । पुल अलपत्र पर्दा रामेछाप र जिरीपारि निर्माणाधीन जलविद्युत् आयोजनाका भारवाहक साधन जीर्ण बनेको पुरानै पुलबाट चल्ने गरेका छन् ।
तामाकोशीको पुरानो पुलको मुखमै भासिएपछि सडक डिभिजन कार्यालयले आवतजावतमा समस्या पर्ने भन्दै ग्याबिन लगाएर भरथेग गरेको छ । महाशाखाले दुई पटक पुल निर्माणको ठेक्का थप गरे पनि अझै पनि निमार्णको काम अघि बढेको छैन । सडक डिभिजन कार्यालय, दोलखाले पुल महाशाखालाई पुरानो पुलमा जोखिम बढेको भन्दै नयाँ पुलको काम अघि बढाइदिन पटक–पटक ताकेता गरिरहेको इन्जिनियर भरत श्रेष्ठले जनाए । ‘हामीले पुरानो पुल निकै जीर्ण भएको भनेर पुल महाशाखालाई काम अघि बढाइदिन आग्रह गरेको धेरै भइसक्यो,’ उनले भने, ‘अझै पनि महाशाखाले पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई काममा फर्काएको छैन ।

सडक डिभिजन कार्यालयले पुरानो पुलको परीक्षणसमेत हुन नसकेका कारण थप जोखिम बढेको उनको भनाइ छ । दुवै पुलको भारवहन क्षमता परीक्षण गरिदिन आग्रह गरिरहेको उनले बताए । पुरानो पुल जीर्ण भइरहेकाले भारवाहक सवारीसाधनलाई पुलबाट प्रवेशमा रोक लगाएको उनले जनाए । उक्त पुरानो पुल १२ टन क्षमताको भए पनि ४० टन सम्म जलविद्युत्का सामग्री बोकेर भारवाहक साधन गुड्ने गरेका छन् । पुल अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोड्ने वा सोही निर्माण कम्पनीबाट काम अघि बढाउने भन्नेमा पुल महाशाखाले निर्णय नलिँदा निर्माणको काम थप अन्योलमा छ ।
०८० माघमा सडक विभागअन्तर्गतको पुल महाशाखाले निर्माण कम्पनीलाई ठेक्का तोड्नका लागि आशयपत्र निकालिसकेको महाशाखाका प्रमुख ललितजन खनालले बताए ।

 

Page 14
अर्थ वाणिज्य

मह सिकारको सिजन सुरु हुँदा नहुँदै कोसेली माग

- हरिराम उप्रेती

(गोरखा)
भीर मौरीको मह काढ्ने सिजन सुरु हुनुअगावै अजिरकोट गाउँपालिका–२ ओलाङकी सुनमाया गुरुङलाई महको अर्डर आइसक्यो । काठमाडौं, भारत र बेलायतमा रहेका आफन्तले समेत भीर मौरीको मह पठाइदिन आग्रह गरेका छन् ।
‘पोहोर पनि यूकेमा मामालाई दुई माना मह पठाएँ, यसपालि पनि बेलायतबाट मामाले दुई जम्बो बोतल पठाइदिन फोन गर्नुभएको छ,’ उनले भनिन् । ओलाङ क्षेत्रमा भीर मौरीको मह काढ्ने सिजन सुरु भएसँगै स्थानीयलाई आफन्त र चिनेजानेकाले टेलिफोन गरी महको जोहो गरिदिन आग्रह गर्न थालेका छन् । बुधबारबाट ओलाङमा मह सिकार सुरु भएको छ । ओलाङस्थित खस्रे भीरको पहरोमा मौरी खोज्दै स्थानीयले सिकार सुरु गरेका हुन् ।
दुई महिनादेखि नै खस्रे भीरको पहराका अक्करमा रहेको गोला खोजीमा स्थानीय जुटेका थिए । गाउँभेला गरी आवश्यक सामग्री जुटाएर मह काढ्न सुरु गरिएको स्थानीय गंगा गुरुङले बताए । उनी मह सिकारका लागि गाउँमा कहलिएका व्यक्ति हुन् । ‘घाँस/दाउरा गर्न वनमा जाँदा कहाँकहाँ मौरीको गोला छ, खोजी गर्‍यौं, डोरीको भर्‍याङ, कोक्रे तयार पारेर मह निकाल्न थालेका छौं,’ उनले भने । ओलाङमा पहिलेको तुलनामा मह उत्पादन कम हुने गरेको इन्द्रले जनाए । ‘पहिले त ४/५ सय लिटर पनि उत्पादन हुन्थ्यो, ड्रममा राख्थ्यौं, अहिले एक सय लिटर पुग्न पनि मुस्किल पर्छ,’ उनले भने ।
अजिरकोट सँगै धार्चे गाउँपालिका–३ निम्रुङ खोला, धार्चेकै उहिया, खोर्ला, लाप्राक, हुल्चोकलगायतको गाउँमा मह सिकार सुरु भएको छ । सिजन सुरु भएसँगै स्थानीय मह काढ्ने तयारीका लागि मौरीका गोला खोज्दै जंगल पुग्ने गरेका छन् । यस क्षेत्रमा भीर मौरीको मह काढ्ने सिजनलाई स्थानीयले उत्सवको रूपमा लिन्छन् । मह काढिसकेपछि दामासाही रूपमा मह भाग लगाउने चलन छ ।
६५ वर्षे गंगाले मह सिकार थालेको चार दशक भयो । गत बुधबार डोरीको भर्‍याङमा झुन्डिएर मह काढ्दै गरेका गंगालाई १० जना भन्दा बढी स्थानीयले सघाइरहेका थिए । ‘यो जोखिमको काम हो, विधि जानिएन भने मौरीले टोक्छ, भर्‍याङमा अडिन सकिएन भने पनि ज्यान नै धरापमा पर्छ,’ उनले भने । केही वर्ष अघिसम्म स्थानीय निगालेको चोयाबाट डोरी बनाएर भर्‍याङ बनाउँथे । अहिले भने नाइनलको डोरीमा अँगेरीको काठ प्रयोग गरेर भर्‍याङ बनाउने गरेको उनले सुनाए ।
ओलाङ क्षेत्रमा मह सिकारमा गंगासँगै इन्द्र गुरुङ पनि कहिलिएका छन् । बाबुबाजेको सिको पछ्याउँदै मह सिकार गरेका गंगा र इन्द्र नयाँ पुस्तालाई पनि सीप हस्तान्तरणमा लागेका छन् । ओलाङ क्षेत्रको भीरमा वैशाख र कात्तिक गरी वर्षको दुई पटक मह निकाल्ने गरिएको इन्द्रले बताए । ‘बाबुबाजेसँग मह काढ्न जाँदाजाँदै सिकारी बन्यौँ,’ प्रेम भन्छन्, ‘पहिलेको तुलनामा अहिले मह उत्पादन घटेको छ ।’
जंगल बीचमा रहेको पहरो नजिकै धूप बालेर देवीदेवता पुज्दै यस वर्षको मह सिकार सुरु भएको उनले सुनाए । मह सिकारका लागि यहाँका स्थानीयले कामको बाँडफाँड पनि गरेका छन् । डोरी तान्ने, धूवाँ उडाउने कामका लागि छुट्टा/छुट्टै समूहमा स्थानीयलाई काम बाँडेका छन् ।
‘धूवाँ लगाउने, डोरी तान्ने, कोक्रेको मह झिक्ने काममा युवालाई खटाएका छौं,’ प्रेमले भने, ‘उनीहरूलाई काम सिकाउन पनि सँगै लैजान्छौं ।’ ३२ वर्षीय प्रेम गुरुङ पाका पुस्ताले गरेको मह सिकारबारे नजिकबाट नियाल्दै छन् । चार वर्षयता सहयोगीको भूमिकामा रहेका प्रेम आफैं भीर मौरीको गोला छेउ पुगेर सिकारका लागि यसको विधि सिक्न लागेका हुन् । भन्छन्, ‘यत्रो भीर छ, सुरुमा त रिंगटा नै चल्छ ।’
पहरोसहितको भीरमा रहेको मौरीको गोलामा डोरीमा झुन्डिएका सिकारीले धूवाँ लगाएर मौरी भगाएर मह निकालेका हुन् । जुम्ले खोलानजिकैको खस्रे भीर आसपास दर्जन बढी मौरीका गोला छन् । बुधबारबाट सिकार सुरु गरेर क्रमशः मह निकाल्दै जाने उनीहरूले जनाए । भीरमा मह काढ्ने परम्परालाई उत्सवको रूपमा मनाउन ‘हनी हन्टिङ’ कार्यक्रमका रूपमा प्रोत्साहन गरेको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले बताइन् । ‘यो कार्यक्रमले पर्यटन प्रवर्द्धन पनि गर्न सकिन्छ,’ उनले भनिन् । हन्टिङका लागि मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत पनि प्रोत्साहन गरिएको उनको भनाइ छ ।

 

अर्थ वाणिज्य

पाँच करोड लगानी राखेर दर्ता भयो इनड्राइभ

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– लामो समयदेखि बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरिरहेको राइड हेलिङ प्लाटफर्म इनड्राइभ अब भने उद्योगका रूपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभले कानुनबमोजिम आफूलाई औपचारिक व्यवसायका रूपमा अघि सारेको हो । कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ प्रतिस्पर्धात्मक राइड सेयरिङ व्यवसायमा सामेल भएको छ । प्यानमा दर्तालगायतका करसम्बन्धी प्रक्रिया पनि पूरा भइसकेकाले अब राइडरहरूबाट कमिसन उठाउन सुरु गरिएको इनड्राइभका एक प्रतिनिधिले बताए । कति प्रतिशत कमिसन लिने भन्नेचाहिँ औपचारिक जानकारीमा आइसकेको छैन ।
हाल सञ्चालनमा रहेका केही राइड सेयरिङ प्लाटफर्मले स्पष्ट कानुनी प्रावधानबिनै २० प्रतिशतसम्म कमिसन लिने गरेको उल्लेख गर्दै उद्योग विभागका अधिकारीले यी विषयमा पनि प्रक्रियागत र कानुनी स्पष्टता हुनुपर्ने धारणा राखे । ‘राइड सेयरिङमा कानुनी स्पष्टता नहुँदा पठाओजस्ता कम्पनी कम्प्युटरसम्बन्धी काम गर्ने भनेर दर्ता भएका छन्,’ उनले भने, ‘यति धेरै सेवा दिने क्षेत्र व्यवस्थित हुनुपर्‍यो भनेर हालै मात्र राइड सेयरिङलाई उद्योग तथा सेवाको मान्यता दिइएको छ ।’
लगानी सम्मेलनको सेरोफेरोमा जारी ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ मा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ लाई संशोधन गर्दै राइड सेयरिङमा ७० प्रतिशतसम्म विदेशी लगानी खुला गरेको थियो । यातायात अत्यावश्यक र संवेदनशील सेवा भएको र विद्युतीय प्लाटफर्मको प्रयोग गरी सेवा प्रवाह गर्ने गरी वर्गीकरणमा समावेश भएकाले यस प्रकारको सेवा सञ्चालन गर्दा नेपालीको समेत लगानी हुनु उपयुक्त हुने भन्दै यस्तो प्रस्ताव गरिएको उद्योग विभागका ती अधिकारीले बताए ।
‘दूरसञ्चार सेवा प्रदायक संस्थामा २० प्रतिशत सेयर स्वामित्व नेपालीको हुनैपर्ने प्रावधान छ, क्यासिनोमा पनि १० प्रतिशत नेपालीको हुनुपर्छ, त्यसरी नै राइड सेयरिङमा ३० प्रतिशत नेपाली साझेदार राख्दा स्वदेशी व्यवसायी पनि फस्टाऊन् भनेर यस्तो व्यवस्था गरिएको हो,’ विभागका अधिकारीले भने, ‘अहिले शतप्रतिशत विदेशी लगानीमा सञ्चालनमा रहेका राइड सेयरिङ प्लाटफर्महरूले पनि आउँदा दिनमा यसबारे सोच्नैपर्छ ।’
कुल ४६ देशका ७४९ सहरमा २० करोड एप डाउनलोडमार्फत झन्डै एक अर्ब व्यक्तिलाई सेवा पुर्‍याएको दाबी गर्ने इनड्राइभले राइड सेयरिङसँगै कतिपय देशमा कुरियर, कार्गो र लामो दूरीका यातायात सेवासमेत प्रदान गर्दै आएको छ । नेपालमा राइड सेयरिङ उद्योगका रूपमा दर्ता गर्न लगभग एक वर्ष प्रयास गरेपछि इनड्राइभले अन्ततः आफ्नो अनौपचारिक सेवालाई कानुनी रूप दिएको हो ।

 

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


यामाहाको महाएक्सचेन्ज मेला
काठमाडौं (कास)– नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले एक्सचेन्ज इभेन्ट ‘यामाहा महाएक्सचेन्ज मेला–०८१’ सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेला एक साता चल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘फेरि पनि यामाहा महाएक्सचेन्ज मेला आयोजना गर्न पाउँदा हामी हर्षित छौं,’ एमएडब्लू इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘यसले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्छ ।’ मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । सहभागीले ब्रान्ड–न्यु यामाहा मोटरसाइकल खरिदमा एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने पनि बताइएको छ । एमएडब्लू राइड्सले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड–इनका लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन गर्ने पनि जनाएको छ । मेलाका आकर्षणका रूपमा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्न निःशुल्क बाइक चेक–अप र स्पार्कलिङ क्लिन स्टार्टका लागि वास गर्ने सुविधा लिन सक्ने कम्पनीले बताएको छ ।
ॅटीभीएस मेरो साथी,
लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार
काठमाडौं (कास)– टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षका अवसरमा ल्याएको ‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । योजनाअन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । सपना सापकोटाले एनटर्क रेस ऐडिसन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा शतप्रतिशत क्यासब्याक प्राप्त गरेका छन् । रामबहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेको कम्पनीले जनाएको छ । नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकलाई टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाको साथै हरेक हप्ता शतप्रतिशत क्यासब्याक, स्योर–सर्ट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मूल्यांकन र बजारकै सबैभन्दा कम ईएमआई तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफर उपलब्ध गराएको थियो ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं (कास)– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारणसभाले चालु आर्थिक वर्षका लागि सुजन काफ्ले एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गरेको छ । साधारसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँको १०.२६ प्रतिशतका दरले हुने रकम ४६ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई समेत पारित गरेको छ । साथै २४.७४ प्रतिशतका दरले १ अर्ब १२ करोड ४५ लाख रुपैयाँ नगद लाभांश (प्रस्तावित बोनस सेयरको कर प्रयोजनसमेतका लागि) वितरण गर्ने जनाएको छ ।
फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित
आफ्ना सेवाहरूको प्रदर्शनी
काठमाडौं (कास)– फोनपे भारतले शुक्रबार आयोजित एक कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवा प्रदर्शन गरेको छ । प्रदर्शनीमा बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधि, भुक्तानी प्रणालीका प्रदायक, यूपीआई भुक्तानी लिने व्यवसायी र व्यापार संघहरूका प्रतिनिधिहरूलगायतको सहभागिता थियो । उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपेले समर्थन गरेको थियो, जुन नेपाल–भारत क्रस बोर्डर यूपीआई अन्तरआबद्धताका लागि यूएनआईपीएलको काउन्टरपार्टी पनि हो । यूपीआई भारतीय ‘रियल टाइम भुक्तानी प्रणाली’ हो, जसले तत्काल पैसा लेनदेनको सुविधा दिने गरेको छ ।
ग्लोबल आईएमईको प्लास्टिक खपत घटाउने प्रतिबद्धता
काठमाडौं (कास)– ग्लोबल आईएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लास्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यास गर्ने भएको छ । बैंकले आगामी तीन वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धतासमेत जनाएको हो । वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट सुरु भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यालयमा विस्तार हुनेछ । स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना
फैलाउने विभिन्न क्रियाकलाप गर्दै आएको बैंकले जनाएको छ । देशभर बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन् ।
सीजी फुड्सको घटनाप्रति परिसंघको गम्भीर ध्यानाकर्षण
काठमाडौं (कास)– चौधरी ग्रुपको सीजी फुड्समा गत शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको छ । सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनीय रहेको परिसंघले जनाएको छ । देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन परिसंघले माग गरेको छ । ‘हालको विषम परिस्थितिमा निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्नेछ,’ परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रूपमा प्रस्तुत हुन सरकार, प्रशासन एवं सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

 

Page 15
खेलकुद

टेबल टेनिसमा ओलम्पिक छनोटको अवसर

- कान्तिपुर संवाददाता

(काठमाडौं)
सम्भवतः नेपालले टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी पाउन सक्नेछ, यदि नेपाली खेलाडीको प्रदर्शन अपेक्षाअनुसार राम्रो रहने हो भने । वैशाख ३१ देखि जेठ २ सम्म नेपालमा दक्षिण एसियाली ओलम्पिक छनोट हुनेछ । नेपालमा ओलम्पिक छनोटको अन्तिम चरण हुन लागेको यो नै पहिलो पटक हो ।
यसमा विजेता रहेका एक–एक पुरुष र महिला खेलाडीले फ्रान्समा हुने यसै वर्षको ओलम्पिकमा स्वतः प्रवेश पाउनेछ । ‘दक्षिण एसियालीस्तरमा हाम्रा खेलाडीको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली खेलाडी छनोट हुने सम्भावना अत्यधिक रहेको छ । दक्षिण एसियाली टेबल टेनिसमा भारतपछि नेपाल नै बलियो रहेको छ,’ टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भने ।
प्रतियोगितामा नेपालसँगै बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक देशबाट पुरुष र महिलातर्फ दुई–दुई खेलाडीले सहभागिता जनाउनेछन् । त्यस अर्थमा कुल २० खेलाडीको सहभागिता रहनेछ । नेपालका तर्फबाट पुरुषमा संयोग कपाली र सान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले खेल्नेछन् । भारत यसअघि नै पेरिस ओलम्पिकका लागि छनोट भइसकेको छ । त्यसैले प्रतियोगितामा भारतले खेल्ने छैन र यो बाँकी देशका लागि अवसर बनेको छ ।
‘हाम्रा खेलाडीले आफ्नै भूमिमा खेल्न लागेका छन्, त्यसको पनि फाइदा हुनेछ,’ दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव शंकर गौतमले भने । प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैयाँको बजेट रहेको छ । ‘आर्थिक सहयोगका लागि हामीले छलफल अगाडि बढाइरहेका छौं,’ अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले भने ।
नेपाली खेलाडीको प्रमुख प्रतिद्वन्द्वी श्रीलंका हुने मानिएको छ । यस्तै प्रतियोगिताका संयोजक तेजेन्द्र सिंहले नेपाली टेबल टेनिसका लागि यो नै ओलम्पिक छनोटका लागि सबैभन्दा अवसर रहेको दाबी गरे । उनका अनुसार खेल लिग कम नकआउटको आधारमा हुनेछ ।
छनोटका खेल सञ्चालनका लागि सम्पूर्ण जनशक्ति विदेशबाट आउनेछन् । नेपालबाट अहिलेसम्म तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट मात्रै छनोट चरण पार गरेका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी दुवैले अहिलेसम्म सहयोग भने गरेको छैन । निजी क्षेत्रबाट भने नेपाली घरले पाँच लाख रुपैयाँ प्रायोजन गर्नेछ । यस्तै समाजसेवी सुमन खड्गीले पनि आर्थिक सहयोग गर्नेछन् । 

खेलकुद

बस्न्यातलाई टर्किस एयरलाइन्स गल्फ कप

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– कञ्चन बस्न्यातले टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप काठमाडौं छनोट जितेका छन् । गोकर्ण गल्फ क्लबमा आइतबार उनले ४२ स्टेबलफोर्ड अंक जोड्दै विजेता बनेका हुन् । योसँगै उनी टर्कीको अन्तलियामा डिसेम्बरमा हुने टर्की एयरलाइन्स वर्ल्ड गल्फ कपका लागि छनोट भएका छन् । रेने विजय श्रेष्ठ इनहाउसले ४१ स्कोर गर्दै वेस्ट ग्रसको उपाधि जिते । उनले काउन्ट ब्याकमा टासी छिरिङलाई पराजित गरेका थिए । एक ह्यान्डिक्याप लिएर खेलेका दुवै गल्फरले ५ अन्डर ग्रस गरेका थिए । रेनेले ब्याक नाइनमा २३ स्कोर गरेका थिए भने टासीले २१ स्कोर ।
टासी ४० नेट अंक जोड्दै उपविजेता बने । आशिष श्रेष्ठले ३८ स्कोर गरे । उनले पुरुषमा क्लोजेस्ट टु द पिनको उपाधि जिते । यो विधाको महिलातर्फ उपाधि गीता गुरुङले पाइन् । नवाङ फिन्जो शेर्पाले १३ नम्बर होलमा होल इन वान
गरेका थिए । उनलाई काठमाडौं–इस्तानबुल–काठमाडौंको टिकट प्रदान गरिएको थियो ।
टर्किस एयरलाइन्सको प्रायोजनमा भएको प्रतियोगितामा ९१ गल्फरले स्टेबलफोर्ड फर्म्याटका आधारमा खेलेका थिए । टर्किस एयरलाइन्स काठमाडौंका प्रबन्ध निर्देशक सेरकन बेसर, रिजनल सेल्स म्यानेजर बेनजिर खान, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नथानलगायतले विजयी खेलाडीलाई पुरस्कृत गरेका थिए ।

खेलकुद

जिरीबाट ‘एभरेस्ट एक्सट्रिम १३५ माइल ट्रेल’ सुरु

- केदार शिवाकोटी

(दोलखा)
जिरीबाट ‘एभरेस्ट एक्सट्रिम १३५ माइल ट्रेल’ म्याराथुन सुरु भएको छ । कोभिडका कारण पाँच वर्षदेखि हुन नसकेको एभरेस्ट एक्सट्रिम म्याराथुनलाई चीनको गुविन अन्तर्राष्ट्रिय स्पोर्ट क्लब र नेपालको हिमालय ट्रेल रनिङले आइतबारबाट पुनः सुरु गरेका हुन् ।
एभरेस्ट एक्सट्रिमको यो तेस्रो संस्करण हो । यो संस्करणमा विभिन्न ६ देशका १४ साहसिक धावक सहभागी छन् । सन् २०१८ र २०१९ पछि कोभिडले एभरेस्ट एक्सट्रिम ट्रेल हुन सकेको थिएन । एडमण्ड हिलारी र तेन्जिङ नार्गेले पहिलो पटक सगरमाथा चढ्दा प्रयोग भएको बाटोलाई संसारभर चिनाउन प्रतियोगितालाई निरन्तरता दिन लागेको हिमालयन ट्रेल रेसका पथप्रदर्शक विशाल बाँस्तोलाले बताए ।
‘विभिन्न देशमा साहसिक ट्रेलमा सहभागी भएका धावकहरू क्वालिफाएर भएर आएकालाई समावेश गरेका छौं,’ उनले भने, ‘यो पटक निरन्तरता दिन सुरु गरेका हौं, आउँदो वर्ष विश्वव्यापी साहसिक धावक सहभागी गर्ने तयारी थालेका छौं ।’ सहभागी धावकहरूले सगरमाथाको पुरानो बाटो मात्रै प्रयोग गर्नुपर्ने नियम छ । धावकहरूलाई पहिला नै विभिन्न स्थानमा बसेका पथप्रदर्शकले बाटो पहिचान गरिदिनेछन् । म्याराथुनमा २ वटा विधा समावेश गरिएको आयोजकले जनाएको छ । १ सय १३ माइलको म्याराथुन जिरीबाट सोलुखुम्बुको थामे, नाम्चे, रिन्जो ला पास, हुँदै सगरमाथा बेसक्याम्प पुग्नुपर्नेछ । त्यहाँबाट पुनः लुक्लामा आएर समापन हुनेछ ।
यस्तै १ सय माइलको म्याराथुनमा जिरीबाट सोलुखुम्बुको थामे, नाम्चेबाट सिधै लुक्लामा गएर समापन हुने उनले बताए । अघिल्लो संस्करण २०१९ मा १ सय ३५ माइलको म्याराथुनमा चीनका धावक ८४ घण्टामा लुक्ला पुगेका थिए । यो पटक १ सय ५० घण्टा अधिकतम समय राखिएको उनले बताए । प्रतियोगितामा रुस, अमेरिका क्यानडा, चीन, अस्ट्रेलिया र जापानका १० पुरुष र ४ महिला धावक सहभागी छन् । प्रतियोगिताको मुख्य उद्देश्य सगरमाथाको पुरानो बाटोलाई उत्कृष्ट ट्रेलका रूपमा चिनाउने रहेको आयोजकले जनाएको छ ।

खेलकुद

गोलबजारको पहिलो जित

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– गोलबजार स्पोर्ट्स क्लबले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा आइतबार पहिलो जित निकालेको छ । सुरुआती पाँच खेलमा दुई अंकमै सीमित रहेको गोलबजारले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा महावीरलाई २–१ ले स्तब्ध पारेको हो ।
यससँग उसको पाँच अंक भएको छ । लगातार दुई खेल जितेर लयमा देखिएको महावीरले भने यसपल्ट गोलबजारलाई रोक्नै सकेन । विजयी टिमका लागि ओमप्रकाश सिंहले ७६ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि चौथो मिनेटमा विजय श्रेष्ठको गोलले गोलबजारले अग्रता लिएको थियो । महावीरका लागि ३५ औं मिनेटमा नीरबहादुर थापाले एक गोल फर्काए ।
पहिलो खेलमा वाग्मतीले मनोहरालाई १–० ले हरायो । त्यसमा अनिल रानामगरले पेनाल्टीबाट निर्णायक गोल गरे । वाग्मतीको यो तेस्रो जित हो र यससँगै उसको ११ अंक भएको छ । मनोहरा भने १२ अंकमा सीमित रह्यो । यस नतिजासँगै मनोहराको लगातार चार जितको यात्रामा पूर्णविराम लागेको छ । 

Page 16