You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 6
पाठकको पत्र

सकारात्मक अपेक्षा

प्रजातन्त्र र गणतन्त्रका लागि जुन खालका संघर्ष भए, ती केवल नेता र तिनका आसपासका मानिस धनी हुनका लागि मात्रै थियो (रातारात धनी हुने चाहनाको दुष्परिणाम, ८ असोज) । वास्तवमा मुलुकका लागि राम्रो काम गर्नेहरूको यहाँ हरिबिजोग नै छ । यी त खलनायकहरूको कुरा भयो । तर, मुलुकमा राम्राभन्दा राम्रा कर्मचारी तथा त्यागी नेताहरू पनि छन् । तिनका बारेमा खासै उल्लेख हुँदैन । आशा जगाउनका लागि अति आवश्यक त्यस्ता व्यक्तित्वका बारेमा पनि प्रकाश पार्नुपर्‍यो । 

खुराफातीहरूकै मात्रै समाचार सामग्री बनाउँदै जाने हो भने हामीपछि आउने पिढीमा पनि खराब आचरणकै मात्रै विकास हुँदै जानेछ । रामेश्वर खनालको आवरण लेखजस्तै युवाहरूमा आशा जगाउने खालका सामग्री पस्किनु पर्‍यो । खनाल आफैँमा एक सकारात्मक पात्र हुन् । उनीजस्ता अरू पात्रको पनि खोजी गर्न ढिलाइ नहोस् ।

जीवनप्रसाद राई
हिले–१, धनकुटा

 

पाठकको पत्र

स्वाभाविक नियति

इतिहास र योगदानलाई भन्दा पैसा र आफन्तलाई प्रमुखता दिएपछि इमानदारहरू बाहिरिनु स्वाभाविक हो (राजपालाई झट् का, ८ असोज) । तसर्थ, असल र इमानदार हरूलाई किनारा लगाउनुको नियति राजपाले प्रदेश–२ को स्थानीय तहको निर्वाचनमा बेहोरोको हो । समय छँदै चेतेन भने प्रदेश र संघीय संसद्को निर्वाचनमा अझ दुखद परिणाम हात पर्नेमा शंका छैन ।

कृष्ण भट्टराई
चन्द्रनिगाहपुर, रौतहट

 

पाठकको पत्र

अन्योलको परिणति

आफ्नो भूमिका प्रस्ट पार्न नसक्दाको परिणाम हो यो, सशस्त्र प्रहरी बलको असमन्जस (अन्योलमा अर्धसैनिक बल, ८ असोज) । कहिले सेनाजस्तो कहिले प्रहरीजस्तो बन्न खोजेपछि नै सशस्त्र प्रहरी बलको हालत यस्तो भएको हो । आफ्नो भूमिका निश्चित गरेर अघि बढ्न सके अन्योल आफैँ हटेर जानेछ । दुईवटा डुंगामा खुट्टा हाल्न खोज्दा दुर्घटनाको भागीदार हुने निश्चित छ । यसका नेतृत्वकर्ताहरू बेलैमा सचेत होऊन् ।

मिलन तुलाधर
इन्द्रचोक, काठमाडौँ

 

पाठकको पत्र

हाम्रो दुर्भाग्य

पञ्चेश्वर परियोजनासम्बन्धी सम्झौता भएको २१ वर्षसम्म पनि काम अघि नबढ्नु हाम्रो दुर्भाग्य हो (एक्काईस वर्षदेखि जहाँको तहीँ, ८ असोज) । ६ महिनाभित्र तयार गर्ने भनिएको डीपीआर बन्नसमेत २१ वर्षसम्म कुर्नुपर्छ भने पञ्चेश्वर परियोजना बन्ला कहिले ? नेपाली शासकहरू कामभन्दा कुरामै रमाउँछन् भनेको साँचो रहेछ । कामलाई प्राथमिकता नदिऊन्जेल यो नियति दोहोरिने निश्चित छ ।

गड्डु चौधरी
टीकापुर–६, कैलाली

 

पाठकको पत्र

माटो छुट्यो

मधेस मुद्दा उठाउने फिल्महरूको चर्चा गर्ने क्रममा खासमा यो मुद्दा उठाउने फिल्म नै छुटेजस्तो लाग्यो (बल्ल मधेस महसुस, ८ असोज) । ‘मेचीदेखि महाकाली, हामी सबै नेपाली, हिमालदेखि तराई कोही छैन पराइ’ भन्ने मूल सन्देश बोकेको संघीयता/मधेससम्बन्धी महत्त्वपूर्ण फिल्म हो, माटो । अब मधेस, लिम्बूवान, थरुहट, खसान विषयवस्तु भएका फिल्महरूको समीक्षा पनि सुरु भएजस्तो लाग्यो । माटो, क्रसफायर, अरुणपूर्व लिम्बूवान, जय लिम्बूवानजस्ता फिल्महरूका दिन पनि आएका हुन् कि !

मित्र लिङदेन
काठमाडौँ

Page 8
विदेशबाट

खुल्यो तिब्बत छिर्ने बाटो

हिमाली चुचुराबीच चिसो बतास चलिरहने बाटोमा तिब्बतबाट नेपाल छिर्नु संसारकै मनमोहक यात्रामध्ये एक हो । तर, विसं ०७२ को भूकम्पसँगै तेस्रो मुलुकका पर्यटकका लागि रोकिएको त्यस ‘क्लासिक’ मार्ग अब खुलेको छ । यो प्रतिबन्ध अहिलेलाई केरुङ–रसुवागढी मार्गमा फुकुवा गरिएको छ । यसअघि भने धेरैजसो कोदारी राजमार्गमार्फत तातोपानी हुँदै आवत–जावत गर्थे । धेरै पश्चिमा पर्यटकहरु नेपाललाई तिब्बत छिर्ने प्रवेशद्वार बनाएर सडकमार्गबाटै यो मार्गमा जान रुचाउँछन् । तर, व्यावहारिक रुपमा भने एक लेनको मात्र बाटो भएकाले टुर अपरेटर्सहरु अहिले नै प्याकेजहरु सार्वजनिक गर्न हिचकिचाइरहेका छन् । 

मालवाहक ट्रक गुड्ने बाटोसमेत त्यही भएकाले सहज यात्रा अझै सम्भव छैन । कमजोर तवरबाट बनाइएका सडक र पहिरो गइरहने कमजोर भूबनोट त छँदैछ । यसअघि पनि बेलाबेलामा छोटो सूचनाकै बीच केही समयका लागि तिब्बत प्रवेश रोकिने गथ्र्यो । त्यस रुटमा थुप्रैपटक यात्रा गरेका लेखक इड डग्लसले बेलायती पत्रिका द गार्डियनसँग भनेका छन्, ‘चीनले तिब्बतलाई खुला राखेको बताईकन पनि देखाउन चाहन्छ र यस्तै कठिन परिवेशभित्र धेरै पर्यटक नभित्रिऊन् भन्ने पनि चाहन्छ ।’ तर, केही माइलकै फरकमा एक हजार मिटरदेखि पाँच हजार मिटरको पास काटेर ४ हजार २ सय मिटरमा फैलिएको तिब्बती समथर भूभाग पुग्ने साहसिक यात्राले भने जुनसुकै बाहनामा पर्यटकलाई लोभ्याउन छाडेको छैन ।

तस्बिरमा इतिहास

शान्त बौद्ध

शान्त बौद्ध :३९ वर्षअघिको बौद्धनाथ स्तूपा । चारैतिरबाट देखिने यो स्तूपा अहिले घरैघरले घेरिएको छ ।

सुर–बेसुर

सुर–बेसुर

जनसंख्याको ठूलो जमातलाई कुठाराघात गर्ने गरी शिक्षा ऐन संसद्बाट पारित गरिनुलाई कुनै हालतमा उपयुक्त मान्न सकिन्न । यसले नेपालको सार्वजनिक शिक्षालाई आउँदो २५ वर्षसम्म उँभो लाग्न नसक्ने गरी थला पारेको छ ।

मनप्रसाद वाग्ले
शिक्षाविद् तथा निवर्तमान सदस्य राष्ट्रिय उच्चस्तरीय शिक्षा आयोग
कान्तिपुर

Page 11
झटारो

आसनग्रहण समारोह

- लक्ष्मण गाम्नागे

हाम्रो विद्यालयको नमुना शौचालय उद्घाटन समारोहमा पाल्नुभएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै प्रमुख अतिथिज्यूको अति व्यस्तताले गर्दा निर्धारित समयभन्दा एक घन्टा ढिलो कार्यक्रम सुरु हुन गएकामा म क्षमायाचना गर्छु । अब ढिलो नगरीकन म आसनग्रहणको क्रमलाई अगाडि बढाउँछु । आजको यस गरिमामय सभाको सभापतित्व ग्रहण गरिदिनुहुन विद्यालय सञ्चालक समितिका अध्यक्षज्यूलाई अनुरोध गर्छु । व्यस्त समयका बावजुद हामीलाई माया गरेर पाल्नुभएका माननीय शिक्षामन्त्रीज्यूलाई कार्यक्रमको प्रमुख अतिथिका रूपमा आसनग्रहणका लागि अनुरोध गर्छु । 

श्रीमान् सचिवज्यूलाई विशिष्ट अतिथिका रूपमा आसनग्रहणका लागि अनुरोध गर्छु । माफ गर्नुहोला, सचिवज्यूलाई विशिष्ट नभई विशेष अतिथिको आसनग्रहण गरिदिनुहुन अनुरोध गर्दै विशिष्ट अतिथिका रूपमा आसनग्रहणका लागि माननीय सांसदज्यूलाई अनुरोध गर्छु । माननीयज्यू, गल्ती भयो, माफ पाउँm † कृपया, यसरी रिसाएर नहिँडिदिनुहुन अनुरोध गर्छु ।

धन्यवाद माननीयज्यू † हामीमाथि दया गरेर आसनग्रहण गरिदिनुभएकोमा उहाँलाई जोडदार तालीले स्वागत गरिदिनुहुन म सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई अनुरोध गर्छु । माननीयज्यूले प्रमुख अतिथि बनाउने भए मात्र आउँछु भन्नुभएको थियो । त्यसैले अचानक उहाँ यहाँ आउनुभएको थाहा नभएर यो त्रुटि हुन गएको प्रस्ट पार्न चाहन्छु ।

म पुन: आसनग्रहण कार्यक्रमलाई निरन्तरता दिन्छु । श्रीमान् जिल्ला शिक्षा अधिकारीज्यूलाई अतिथिको आसनग्रहणका लागि अनुरोध गर्छु । सहायक जिल्ला शिक्षा अधिकारीज्यूलाई पनि अतिथिको आसनग्रहणका लागि अनुरोध गर्छु । विद्यालय निरीक्षकज्यूलाई आसनग्रहणका लागि अनुरोध गर्छु । नगरपालिकाका उपमेयरज्यूलाई आसनग्रहणका लागि अनुरोध गर्छु । यस वडाका वडाध्यक्षज्यूलाई अतिथिका रूपमा आसनग्रहण गरिदिनुहुन अनुरोध गर्छु ।

स्वयंसेवक विद्यार्थी भाइबहिनीहरू, मञ्चमा अरू १५–२० वटा कुर्सीहरू थप्नुहोला । हाम्रो भाग्य ! नबोलाए पनि हामीलाई माया गरेर उपस्थित हुनुभएका यसै वडाका नवनिर्वाचित महिला वडा सदस्यज्यू, नेपाली कांग्रेसका वडा सभापतिज्यू, नेकपा एमालेका वडा कमिटी अध्यक्षज्यू तथा नेकपा माओवादी केन्द्रका वडा इन्चार्जज्यूहरूलाई मञ्चमा आसनग्रहणका लागि अनुरोध गर्छु । राप्रपा, राजपा, सद्भावनालगायत विभिन्न राजनीतिक दलबाट उपस्थित हुनुभएका प्रतिनिधिज्यूहरूलाई आसनग्रहणका लागि अनुरोध गर्छु ।

त्यस्तै विभिन्न राजनीतिक दलका भ्रातृ संगठनका अध्यक्ष वा प्रतिनिधिज्यूहरू, शिक्षक संगठनका प्रतिनिधिज्यूहरू, यस वडामा रहेका विभिन्न क्लबका अध्यक्षज्यूहरू, आमा समूहका अध्यक्षज्यू, सहकारीका अध्यक्षज्यू, प्रहरी चौकीका इन्चार्जज्यू, स्वास्थ्य चौकीका प्रमुखज्यू, समाजसेवी, चन्दादाता, उद्योगी, ज्येष्ठ नागरिक, सञ्चालक समितिका पूर्वअध्यक्षज्यूहरू, उद्यमी, साहू, समाजसेवी, पत्रकार, गुरु पुरोहित, धामी, झाँक्री, माताजी, बाबाजी, हाम्रो इलाकाका ठेकेदारज्यूहरू, डनज्यूहरूलगायत सबैलाई आसनग्रहणका लागि अनुरोध गर्छु ।

आसनग्रहणको क्रम जारी नै रहनेछ । यस क्रममा अतिथिज्यूहरूलाई आसनग्रहण गराउँदा अगाडि पछाडि पर्न गएकामा, मञ्चमा अगाडिको लाइनमा राख्नुपर्नेमा स्थान अभावका कारण पछाडि राख्नुपरेकामा हामी अत्यन्तै लज्जित छौँ, त्यसका लागि म क्षमायाचना गर्छु । मञ्चमा आसनग्रहण गराइएका व्यक्तित्वहरूभन्दा माथिल्लो वा समान हैसियतमा रहेका व्यक्तित्वहरू वा मञ्चमा बस्न योग्य व्यक्तित्त्वहरू अरू हुनुहुन्छ भने हामीलाई नाम टिपाइदिनुहोला । हामी क्रमश: आसनग्रहण गराउँदै जानेछौँ । कार्यक्रमलाई छोटो र छरितो बनाउनुपर्ने भएकाले म आसनग्रहण कार्यक्रमलाई एकछिन स्थगित गरेर अतिथिहरूलाई ब्याच वितरण तथा खादा भिराउने कार्यक्रमलाई अगाडि बढाउन सीता र रीता मिसहरूलाई अनुरोध गर्छु । ब्याच तथा खादा राखेको डोको मञ्चमा ल्याइदिन स्वयंसेवकहरूलाई अनुरोध गर्छु । यसबीचमा म पुन: आसनग्रहण गराउनुपर्ने नामहरू सङ्कलन कार्यमा लाग्छु । धैर्य गर्नुहोला ।

Page 12
स्मरण

भावी राजालाई नेपाली सिकाउने प्रयास

- रेवतीरमण खनाल

युवराज वीरेन्द्र भर्खर मात्र बेलायतको इटन कलेजबाट पढाइ सकेर फर्किएका थिए । उनी आफ्ना कुरा अंग्रेजी भाषामा बडो सहज ढंगले राख्थे । नेपाली भाषामा कुराकानी गर्नु पर्‍यो भने उनलाई ज्यादै अप्ठ्यारो हुन्थ्यो । यही बुझेर हुुनुपर्छ, राजा महेन्द्रले विशेष जाहेरी विभागमा परेका बिन्तीपत्र सुन्ने क्रममा युवराज वीरेन्द्रलाई पनि सँगै लिएर जान्थे र आडैमा राखेर बिन्तीपत्रको बेहोरा सुन्न लगाउँथे । जाहेरी विभागमा रहेर बिन्तीपत्र राजालाई सुनाउने सिलसिलामा मैले पनि थुप्रैपटक त्यस्ता दृश्य देखेको थिएँ । 

दार्जीलिङको सेन्ट जोसेफ स्कुलमा पढेर बेलायत पुगेका युवराज वीरेन्द्रको अंग्रेजी भाषाप्रतिको पकड बेजोड थियो । तर, नेपाली भाषामा भने उनी सामान्य कुराकानीबाहेक तर्क–वितर्क र बहस गर्न सक्दैनथे । उनी अंग्रेजीमा सोच्थे र अंग्रेजीमै जवाफ दिन्थे । अलिक क्लिष्ट शब्द त उच्चारण गर्न नै समस्या हुन्थ्यो । ‘पूर्ण’ शब्द उच्चारण गर्नुपर्‍यो भने उनी ‘पुर्न’ भन्थे । यस्तो उच्चारणगत समस्या उनमा प्रशस्तै थियो ।

भविष्यका राजाको नेपाली भाषाप्रतिको कमजोर पकड देखेर राजा महेन्द्र धेरै चिन्तित थिए । नेपाली भाषा, साहित्य, रीतितिथि र संस्कृतिसँग युवराज वीरेन्द्रलाई एकाकार र घुलमिल गराउने भनेरै उनले चार विकास क्षेत्रमा यस्ता कार्यक्रमहरू आयोजना गर्न लगाउँथे र युवराजलाई अवलोकनार्थ पठाउँथे । नेपाली कला–संस्कृतिको विकास गर्नुका साथै मठ–मन्दिरको जीर्णोद्धारजस्ता कार्यक्रममा युवराज वीरेन्द्र विशेष ढंगले सरिक हुन्थे र नेपाली कला–संस्कृतिलाई नजिकबाट अवलोकन गर्ने प्रयास गर्थे ।

यहीबीच तत्कालीन परराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनाल, जसको विद्वताबाट राजा महेन्द्र पूर्णत: जानकार थिए, लाई दरबारमा बोलाएर युवराजलाई नेपाली भाषा सिकाउने काइदाबारे रायसुझाव मागे । खनालले ‘नेपाली र अंग्रेजी भाषाको एउटा पत्रिका निकाल्ने र त्यसको सम्पादनको जिम्मेवारी युवराज वीरेन्द्रलाई सुम्पिने’ सल्लाह दिए । यो प्रस्ताव राजा महेन्द्रलाई जच्यो । राजाले पत्रिका निकाल्न आदेश दिए । पत्रिकाको नाम जुर्‍यो, रमझम । युवराज वीरेन्द्र सम्पादक भए । रेणुलाल सिंह र निरविक्रम प्यासी सम्पादक मण्डलका सदस्यमा नियुक्त गरिए । अंग्रेजी र नेपाली भाषामा साहित्यिक समालोचना, लेख, निबन्ध, पुस्तक समीक्षा र कविताहरू समेटेर रमझम प्रकाशित हुन सुरु भयो ।

नेपाली भाषामा लेखिएका प्राय: रचना युवराज वीरेन्द्रलाई एकसरो पढ्न दिइन्थ्यो । उनले पढेपछि सम्पादक मण्डलका सदस्यले थप सम्पादनको जिम्मेवारी पूरा गर्थे । गोरखापत्रमा समसामयिक विषयमा आफ्नै नाममा र राजनीतिक, विदेश सम्बन्ध र दरबारको विषयमा लेख्नुपर्‍यो भने आकाशप्रसादका नाममा लेख/टिप्पणी प्रकाशित गरिरहेको मैले रमझममा भने आफ्नै नाममा साहित्यिक लेख/रचना र समालोचना प्रकाशित गर्न थालेँ ।

राजदरबार संवाद सचिवालयबाट प्रकाशित रमझमको कार्यालय युवराजाधिराजको कार्यकक्षमै स्थापना गरिएको थियो । नेपालका प्रसिद्ध साहित्यकारका रचना यसमा प्रकाशित हुन्थे । प्रा यदुनाथ खनाल, तारानाथ शर्माजस्ता थुप्रैका लेख/रचना त्यसमा प्रकाशित भएका छन् ।‘कालीदासको दृष्टिमा युवराजको विवाह’ शीर्षकमा युवराज वीरेन्द्रको विवाह प्रसंगमा केन्द्रित रहेर मैले लेखेको सामग्री पनि यो पत्रिकामा प्रकाशित भएको थियो । ज्यादै धेरै चर्चा र प्रशस्त मात्रामा प्रतिक्रिया प्राप्त गरेको मेरो लेख थियो, यो ।

तारानाथ शर्माले राजा महेन्द्रको फेरि उसैका लागि कवितासंग्रहबारे गरेको समीक्षा पनि यस पत्रिकामा प्रकाशित भएको थियो । त्यो समीक्षा ज्यादै चर्चित र विवादास्पद रह्यो । किनभने, त्यसपूर्व उनले राजा महेन्द्रको उसैका लागि पुस्तकका बारेमा विभिन्न पत्रपत्रिकामा समीक्षा प्रकाशित गर्ने क्रममा राजाको कटु आलोचना गर्दै ‘साहित्यिक क्षेत्रमा देखिएको एक कमसल पुस्तक’ भनेर समीक्षा गरेका थिए । तर, रमझमका लागि समीक्षा लेख्दा भने उनले ‘आजसम्मको नेपाली साहित्यिक जगत्मा रचना भएका कविताकृतिमध्ये सशक्त र अब्बल कविताकृति’ भनेर ठोकुवा नै गरेका थिए । दरबारभित्रै पनि यस समीक्षालाई लिएर गरमा–गरम बहस र चर्चा–परिचर्चा भएको थियो ।युवराज वीरेन्द्रको नेपाली भाषा सुधार गर्ने अभिप्रायले सुरु गरिएको रमझम राजा महेन्द्रको निधन र वीरेन्द्रको गद्दी आरोहणसँगै बन्द हुन पुगेको थियो ।

 

प्र स्तुति : ईश्वरी ज्ञवाली

Page 14
बजार

मूल्य : साढे १६ लाख, मेड इन नेपाल

कोबोल्ड ब्रान्डका महँगा घडी नेपालमै बन्छन्, यहीँ बिक्री हुन्छन्
- मनबहादुर बस्नेत

बबरमहल रिभिजिटेडको मूलचोकबाट दाहिनेतिर मुन्टो बटार्दा एउटा सानो बोर्ड देखिन्छ, जसमा लेखिएको छ– कोबोल्ड वाच कम्पनी, मेड इन नेपाल । भित्र छिर्दा एउटा ठूलो टेबलवरिपरि झुरुप्प केही महिला र पुरुष घडीका लागि आवश्यक छालाका सरसामान बनाइरहेका छन् । ‘नेपालमा सियो पनि बन्दैन’ भन्नेहरू यो घडी कारखानामा पुग्दा जिब्रो टोक्न बाध्य हुन्छन्, लाखौँ रुपियाँ पर्ने घडी π हुन पनि यहाँ न्यूनतम साढे २ लाखदेखि साढे १६ लाख रुपियाँसम्मका घडी बन्छन् । बाहिरपट्टि घडीलाई डिस्प्ले गरेर राखिएको छ भने भित्र धमाधम घडी उत्पादनको काम भइरहेको हुन्छ । ६ वर्षदेखि यति महँगो घडी नेपालमा उत्पादन हुँदै आएको छ तर चुपचाप । न कतै विज्ञापन देखिन्छ, न त होर्डिङ बोर्ड नै ।

आश्चर्य त के भने यति महँगा घडी नेपाली बजारमै खपत हुन्छन् । “धेरैजसो त नेपालीकै नाडीमा बाँधिन्छन्,” कोबोल्डको नेपालस्थित प्रबन्ध निर्देशक रजनी नकर्मी भन्छिन् । त्यसबाहेक नेपाल घुम्न आउने पर्यटकहरू यो घडी रोज्नेमा पर्छन् ।

यति महँगो ब्रान्डेड घडीको फ्याक्ट्रीले नेपालमा जरा गाड्नुको पछाडि भने विशेष कारण छ । सन् २००८ मा दुनियाँकै अग्लो शिखर सगरमाथा चढ्न अमेरिकी घडी उत्पादक कम्पनी कोबोल्ड वाचका संस्थापक माइकल कोबोल्ड पहिलोपटक नेपाल ओर्लिए । उनलाई सगरमाथाको शिखरमा पुर्‍याउन सघाएका थिए, दुई जना नेपाली हिमाल आरोही गाइड नाम्गेल शेर्पा र ल्हाक्पा थुन्डु शेर्पाले । त्यसपछिका दुई वर्ष लगातार माइकल सगरमाथा चढ्न आए । पछिल्लो वर्ष भने उनी श्रीमती अनिता उग्यान (कोबोल्ड)सहित आएका थिए । हंगेरी मूलकी अनिता हिमाल आरोहण पेसामै आबद्ध व्यक्ति हुन्, जसले सगरमाथा बिनाअक्सिजन चढिन् । माइकल, अनिता र अर्का एक जना बेलायती मूलका आरोही सम्मिलित आरोहण दलका गाइड थिए, तिनै शेर्पाद्वय । शिखर पुगेर फर्कंदा कोबोल्ड दम्पतीलाई अपर्झट जोखिम आइपर्‍यो । हिमालको साँघुरो खोँचमा माइकलको अक्सिजन सिलिन्डर गुल्टिँदै तलतिर पुग्यो । यति कठिन अवस्थामा समेत नाम्गेलले हत्तपत्त आफ्नो अक्सिजन सिलिन्डर उनलाई दिए र बचाए । यता बिनाअक्सिजन चढेकी अनितालाई समेत शेर्पाद्वयले धेरै स्थानमा लड्नबाट बचाएका थिए ।

मृत्युको मुखबाट फर्काइदिएको यही गुन तिर्न कोबोल्ड दम्पतीले नेपालमा शेर्पाद्वयका लागि कोबोल्ड ब्रान्डको घडी कम्पनी खोलिदिने निर्णय गरेका हुन् । हिमाल चढाउन जाँदा हरेकपटक शेर्पाहरू मृत्युलाई हत्केलामा लिएर जाने भएकै कारण उनीहरूको जोखिमपूर्ण जीवनको विकल्पका लागि कोबोल्ड दम्पतीले यस्तो उपाय निकालेका हुन् । त्यसपछि चैत ०६८ मा बबरमहलमा ‘मेड इन नेपाल’ लेखिएको कोबोल्डको घडी उत्पादन सुरु भयो । “एभरेस्ट चढ्दा आफूहरूलाई बचाइदिएपछि उहाँहरूले शेर्पा दाइहरूका लागि यो कारखाना खोलिदिनु भएको हो,” कम्पनीकी प्रबन्ध निर्देशक नकर्मी भन्छिन् ।

कोबोल्ड हिमालयका घडी हातैले बनाइन्छन् । यो कम्पनी करिब तीन करोड नेपाली रुपियाँमा खोलिएको हो । अहिले यो कारखानामा झन्डै २० जनाले रोजगार पाएका छन् । त्यसमा पनि अधिक संख्या महिलाको छ । शेर्पाद्वयले अमेरिकास्थित कोबोल्ड घडीको मुख्यालयमा गएर १० महिना घडी निर्माण र मर्मतसम्बन्धी तालिम लिए । त्यहाँबाट फर्किएपछि नै उनीहरू घडी बनाउन थालेका हुन् । उनीहरूकै नाममा यो कम्पनी नेपालमा खोलिएको थियो । तर, अहिले दुवै शेर्पा यो घडी कम्पनीबाट अलग भइसकेका छन् । ल्हाक्पा थुण्डुले त यो संसारबाटै बिदा लिइसकेका छन् । नौपटक सगरमाथा आरोहण गरेका उनको मंसिर ०७३ मा सगरमाथा नजिकै पर्ने ६ हजार ८ सय १२ मिटर अग्लो हिमाल आमादाब्लाम आरोहणका क्रममा मृत्यु भयो । सहयात्रीको मृत्युपछि अर्का शेर्पा ल्हाक्पाले समेत कम्पनी छोडिदिए । कोबोल्डसँग व्यवसायमा बेमेल भएपछि उनी अलग भएका थिए । यद्यपि, कानुन अनुसार यो कम्पनीका नेपाल साझेदार भने हालसम्म पनि ल्हाक्पा नै हुन् ।


चार वर्ष शेर्पाद्वयको हातबाट ‘हिमालय’ सिरिजका कोबोल्ड घडी बने । तर, अहिले भने घडी बनाउन कम्पनीको केन्द्रीय कार्यालय अमेरिकाबाटै प्राविधिकहरू आउँछन् । “शेर्पा दाइहरू नभएपछि उताबाटै घडी बनाउने जनशक्ति ल्याइरहेका छौँ,” नकर्मी भन्छिन् । घडीमा लाग्ने छालाका फित्ता भने नेपाली हातबाटै तयार हुन्छ । उच्च क्षेत्रमा यात्रा गर्दा लगाउने घडीका रूपमा कोबोल्ड संसारभर प्रख्यात छ । संसारकै महँगा घडीमध्येमा पर्छ, यो ब्रान्ड । अमेरिकाको पेन्सिलभानियामा मुख्यालय रहेको कोबोल्डका घडी थोरै संख्यामा उत्पादन हुने तर महँगोमा बिक्री हुने गर्छन् । यो कुरा त नेपालमा हुने उत्पादनले पनि पुष्टि गर्छ । नकर्मीका अनुसार नेपालमा वार्षिक करिब ५० वटा मात्रै घडी बन्छन् । कोबोल्डको नेपालमा खोलेको कारखाना विश्वमै पहिलो शाखा पनि हो ।

हिमाल आरोहणमा जानेहरूले यो घडी बढी मात्रामा प्रयोग गर्छन् । उचाइ, चिसो र हिउँका कारण सामान्य घडीमा समस्या आउन सक्छ । तर, यो घडीमा त्यसलाई पचाउन सक्ने प्रविधिसमेत राखिएको नकर्मीको भनाइ छ । यसका साथै घडी ‘विन्ड प्रुफ’ समेत हो, जसले हिमाली भेगमा चल्ने बेजोड गतिको वायुको वेगलाई सहजै थाम्न सक्छ । यति मात्र होइन, एक सय मिटरसम्मको गहिराइको पानीमा डुब्दा यो घडी बिग्रँदैन । त्यसमाथि यो ‘स्टेनलेस’ भएकाले चट्टानमा घस्रिँदा समेत बेदाग रहन्छ । यही कारण यो घडीले आरोहीहरूलाई आकर्षित गरेको छ ।

नेपालमा उत्पादित घडीलाई ‘कोबोल्ड हिमालय’ सिरिज ब्रान्डमा उत्पादन गरिन्छ । यो घडीको खास विशेषता के हो भने यसको डायल सगरमाथा क्षेत्रको चट्टानबाट बनेको हुन्छ, त्यही भएर पनि यो सर्वाधिक महँगोमा बिक्री हुने गरेको हो । यस्तो घडीको मूल्य १६ लाख ५० हजार रुपियाँ छ । अर्थात् सगरमाथाको जस्तै उचाइ छ, घडीको मूल्यको पनि । ‘हिमालय ४४’ मोडलको यो घडीको सामान्य डायलको नै ३ लाख ७० हजार रुपियाँ पर्छ ।

हिमालय ४१, ट्रान्सग्लोब, थाङ्का डायल, लिंक्स मोडलका घडी बन्छन्, नेपालमा । यसमध्ये थाङ्का डायलमा बुद्धको चित्र अंकित थाङ्का कुँदिएको हुन्छ । लिंक्स सबैभन्दा सस्तो मोडलको घडी हो । घडी बनाउन प्रयोग हुने क्राउन, ह्यान्स, सफारी ग्लासजस्ता कच्चा पदार्थ अमेरिकाबाटै आयात हुन्छ । भूकम्पपछि पर्यटकहरूको आगमन कम भएकाले यो घडीको व्यापारसमेत थोरै ओह्रालो लागेको छ । महिनाभरि एउटा बिक्री हुने हिमालय घडी अहिले मुस्किलले तीन–चार महिनामा एउटा बिक्री हुने नकर्मी बताउँछिन् । पर्यटक र पर्यटकसँगै आउने उच्च वर्गका नेपालीहरू यो घडीका प्रमुख ग्राहक हुन् । “सोरुममा आउने, हेर्ने अनि किन्ने जस्तो सामान्य बजारमा चलेको ट्रेन्ड यहाँ लागू हुँदैन,” नकर्मी भन्छिन्, “सम्पर्क र सम्बन्धका आधारमा बिक्री हुन्छन् ।” सम्बन्धका आधारमा आधा दशकभन्दा लामो समयदेखि चलिरहेको यो घडी विश्व बजारमा समेत पुर्‍याउन सक्ने हो भने सगरमाथाको देशमा बनेको घडी नाडीमा बाँधिदा विश्वमा नेपालको अलग परिचय स्थापित हुन सक्छ ।

Page 18
टिस्टुङ देउराली

अन्तरिक्षबाट नेपाली भूगोल

- विवेक पौडेल

चिनियाँ रेलको विस्तार नेपालको उत्तरी साँधसम्म पुगिसकेको छ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन वा चीनको राजनीतिमा ठूलै उथलपुथल नभए यो रेल सञ्जाल केही वर्षमा नेपालभित्रै पुग्नेछ । हिमालय पर्वत पार गरी उत्तरबाट नेपालतर्फ यस्तो आधुनिक यातायातको जालो फैलिने सम्भावना एक दशकअघिसम्म पनि चिताइएको कुरा थिएन । आउने दिनमा पनि यसले सम्पूर्ण क्षेत्रकै अवस्थामा अहिलेसम्म सोच्न नसकिएको ठूलो फेरबदल ल्याइदिन सक्छ । 

अहिले नेपाल र वरपरको भूगोल सधैँभन्दा महत्त्वपूर्ण बन्दैछ । यस्तो समयमा नेपालको भौगोलिक चित्र र त्यसको प्रभावको बुझाइ झनै सान्दर्भिक बनेको छ । केही समयअघि दोख्लममा चीन, भारत र भुटानबीचको विवादको चुरो त्यही हो, जुन नेपालको संविधान संशोधन प्रादेशिक सीमांकनमा पनि देखिएको थियो । चल्तीका विद्वान् र नेताले जति लेप लगाएर सैद्धान्तीकरण गरे पनि सत्य के हो भने प्रदेश–१ को सीमा विवाद आन्तरिक नेपाली राजनीतिभन्दा सिलिगुडी घाँटीको संवेदनशीलतासँग बढी जोडिएको छ । दुईपक्षीय शक्तिसंघर्षमा सिक्किम र भुटानझैँ कुनै एक पक्षको मात्र उपयोगी हुन नेपालले पनि आफ्नो सुरक्षा, अर्थतन्त्र र प्राकृतिक स्रोतको नियन्त्रणबाट हात उठाउनुपर्ने हुन्छ । भन्नुको अर्थ कालापानी–लिपुलेक, गण्डकी ब्यारेज वा वीरगन्ज महावाणिज्य दूतावासजस्ता प्रवृत्तिको विस्तारमा नेपाली समाजले समयोग गर्नुपर्छ । तर, नेपाली जनताले यो स्वीकार नगरेबापत नै संविधान संशोधनका विभिन्न आपत्तिजनक मुद्दा र नाकाबन्दीपछिको खिचातानीमा देखिएको हो । त्यसलाई नेपालको आन्तरिक समस्याझैँ स्थापित गर्न राम्रा भनिने थुप्रै नेता र अगुवा खुलेरै लागे पनि नाटकको यो अध्याय खासै जम्न सकेको छैन ।

इतिहासमा झैँ आफ्नो मौलिकता जोगाएर आफ्नै समृद्धिको बाटो पहिल्याउने हो भने हिमाल वारपारको नयाँ यातायात सञ्जाल नेपालको निम्ति वरदान साबित हुन सक्छ । तर, यो सञ्जालले हिमाल चेप्ट्याएपछिको नतिजा के हुनेछ, नयाँ राम्रा अवसरहरू वा झनै ठूला समस्या ? फेददेखि टुप्पैसम्म लुटेराजस्ता अहिलेकै राजनीतिक वृत्तको नेतृत्वमा नेपालले यी सबै परिवर्तनबाट केही फाइदा लिन सक्दैन । उल्टै परनिर्भरता, असमानता र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको नाशको गति बढ्नेछ । तर, नेतृत्वमा नयाँ असल प्रवृत्ति हावी हुन सके यी सबै परिवर्तनबाट मुलुकले ठूलै प्रगति गर्न सक्नेछ । किनभने, अहिले सारा संसारको रंग बदल्ने परिघटना नेपालकै वरिपरि भइरहेका छन् । हाम्रो ऐतिहासिक समृद्धिसँग मेल खाने परिस्थिति फेरि निर्माण हुँदैछ र यसपटक यो झनै सुगम बन्दैछ ।
  

सयौँ वर्षअघिदेखि हिमालय वारपार चल्ने गरेको व्यापारको नियन्त्रण नेपालका काठमाडौँ र जुम्लाजस्ता स्थानले गर्थे । तर, युरोपेली औपनिवेशी युग सुरु हुनासाथ चीन र भारतले आफ्नो आन्तरिक व्यवस्थापनको लगाम गुमाउन पुगे । त्यसको चपेटामा नेपाल पनि पर्न गयो । उपनिवेशी व्यवस्थाले करिब दुई सय वर्षसम्म जरैदेखि उखेलेझैँ मनपरी दोहन गर्दा सम्पूर्ण क्षेत्रको रंग नै बदलिदियो । सधैँ निकट रहने गरेको उत्तरतर्फको भूभागसँग नेपालको सम्पर्कविच्छेद हुँदै गयो । पहिलेका राजनीतिक, सामाजिक र आर्थिक सम्बन्ध तोडिएसँगै संसारकै धेरै गरिब बस्ने भूभागको बीचमा नेपाल पनि रंगरोगन उडेको, खोँचमा बेवास्ताले जीर्ण बनेको पुरानो गोठजस्तै हुन पुग्यो । के अबको एसियाली शताब्दीमा नेपालले आफ्नो बाटो पहिल्याउन सक्छ त ? यसको जवाफ पाउने सुरुआती खुड्किलो भने नेपाल अवस्थित भूगोलका विभिन्न आयाम खोतल्नु नै हो ।

यहाँ अन्तरिक्षबाट खिचिएका नेपाल र वरपरका क्षेत्रका केही तस्बिर प्रस्तुत गरिएको छ । यी तस्बिर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट गत १० वर्षका विभिन्न समयमा खिचिएका हुन् । सबै तस्बिर अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)को सार्वजनिक अभिलेखबाट लिइएका हुन् । तस्बिरमा विभिन्न स्थानको पहिचान पंक्तिकार स्वयंले गरेका हुनाले तिनको अवस्थितिमा केही तल–माथि भएको हुन सक्छ ।
तस्बिर–१ को बीचमा एउटा अन्तरिक्ष यान देखिएको छ । त्यसमाथिको सेतो भाग हिमालय पर्वत शृंखला हो । त्यसभन्दामाथि खैरो भूभाग तिब्बती पठार हो । हिमालय पर्वत तलको दक्षिणी भूभाग क्रमश: नेपाली पहाड, तराई र उत्तर भारतीय मैदानी क्षेत्र हुन् । तस्बिरमा सगरमाथा हिमाल, काठमाडौँ, पोखरा, वीरगन्ज, सुर्खेत आदि स्थान देखिएको छ । साथै, नेपालबाट भारततिर बग्ने तीन प्रमुख नदी कोसी, नारायणी र कर्णाली पनि देखाइएको छ । यी तीनै नदीको नेपालदेखि गंगासम्मको बहाव अन्तरिक्षबाट पनि प्रस्टै देखिएको छ ।
  

हिमालय शृंखला र तिब्बती पठारमा स्वच्छ पानीको ठूलो भण्डार रहेका कारण यसलाई ‘तेस्रो ध्रुव’ पनि भनिन्छ । पहिला उत्तरी र दक्षिणी, दुई ध्रुव मात्र हुन् । नेपाल र तिब्बतबाट सुरु हुने नदीमा एसिया महादेशका करोडौँ मानिसको जीवनचक्र निर्भर छ । जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लिने र नदी सुक्ने क्रम बढ्दैछ । भौतिक प्रगति हुँदै गर्दा प्राकृतिक सन्तुलनमा पनि फेरबदल भइरहेको छ । घना आवादी रहेका भारत, चीन, बंगलादेशजस्ता देशमा पर्ने संकटको सीधा प्रभाव नेपालमा पर्नेछ । समस्याको उचित व्यवस्थापनमा ध्यान नदिए खानेपानी अभाव र प्राकृतिक प्रकोपका कारण नेपालमा बसाइँसराइ वा शरणार्थीको चाप बढ्ने सम्भावना छ । यसले नयाँ र जटिल किसिमका तनाव बढाउन सक्छ ।
 

तस्बिर–१ मा हिमालमाथि बीचतिर एउटा ताल देखिन्छ । यो तालको नाम पाइकु–त्सो हो । त्यसको सीधा दक्षिणमा हिमालवारि काठमाडौँ अवस्थित छ । बीचमा गोसाइँकुण्ड र लाङटाङ क्षेत्र पर्छ । पाइकु–त्सोको नजिकै तिब्बतको केरुङ बजार पर्छ, जहाँसम्म चीनले रेलमार्ग निर्माण गर्दैछ । नेपाल आइपुग्ने रेलमार्ग यही हो । पाइकु–त्सो तालको तस्बिर–२ मा छ । त्यसवरपर सुक्खा तिब्बती पठार क्षेत्र देख्न सकिन्छ । तिब्बती क्षेत्रभरि थुप्रै ताल र हिमनदी छन् । नेपालका कतिपय हिमालका पनि आधा भाग तिब्बततिर नै पर्छन् । अन्तरिक्षबाट हेर्दा देखिने तिब्बती क्षेत्रका तालहरू तस्बिर–३ मा छन् ।

अन्तरिक्षबाट खिचिएका तस्बिरहरू हेर्दा नेपाल उत्तरको तिब्बती क्षेत्र र दक्षिणको भारतीय मैदानी क्षेत्र दुवै खैरो रंगका देखिन्छन् भने त्यसबीचको नेपाली भूभाग प्राय: बादलले छोपेको र देखिएका भूभागहरू हिउँले सेताम्य वा गाढा हरिया जंगलले भरिएजस्ता देखिन्छन् । नेपाली नदीहरूले दक्षिणी भूभागमा पुगेपछि ठूलो क्षेत्रमा फैलिने साथै माटो र गेग्रान पनि थुपार्ने गर्छन् । नेपालभित्रै भने सायद चिसो तापक्रम र सतहमा पानीको मात्रा तुलनात्मक धेरै हुनाले कुहिरो र बादल धेरै देखिएको हुन सक्छ । तर, तापक्रम बढ्ने र अन्धाधुन्ध निर्माण कार्य बढ्नाले नेपाली वायुमण्डलको बनोट पनि फेरिँदै गएको छ, जसले हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रमलाई बढाएको छ ।


पानीको बहावका आधारमा नेपालबाट भारत बग्ने नदीहरू दक्षिण अमेरिकाबाहिर कुनै पनि देशबाट अर्को देशमा जाने दोस्रो धेरै मात्राको पानी हो । नेपालको तुलनामा भारतीय सीमावर्ती क्षेत्रमा जनघनत्व धेरै गुणा बढी छ, त्यसकारण त्यहाँ पानीको अभाव र आवश्यकता पनि उत्तिकै टड्कारो छ । भविष्यमा पानीको बहाव झन् घट्दै जाने हुँदा यसले नेपालमा जनसंख्याको चाप बढाउन सक्छ र अरू अप्ठ्यारा समस्याहरू थपिन सक्छन् । सीमाक्षेत्रमा पानी र तटबन्धकै कारण ठूलो विनाशको अनुभव हुन थालिसकेको छ । अतिवृष्टि भविष्यमा झन् बढ्ने हुँदा यस्ता समस्या अझ विकराल बन्नेछन् ।नेपाली क्षेत्रबाट भारतको मैदानी क्षेत्रमा पुग्दा नदीहरूले निकै फरक स्वरूप ग्रहण गर्छन् । यसको एउटा उदाहरण तस्बिर–४ मा देख्न सकिन्छ । तस्बिर–५ मा टनकपुरनजिक नेपाली पहाडी भूभागबाट भारतमा बगेर मिसिँदै गरेका महाकाली र अन्य थुप्रै नदीहरू देखिन्छन् । भारतीय आवादी क्षेत्रमा भने हरियालीको मात्रा निकै कम छ र नदीको बहाव तस्बिर–६ मा जस्तो हुन्छ ।

अन्तरिक्षबाट हेर्दा काठमाडौँ पनि उत्तरी भारतीय मैदानी क्षेत्रजस्तै उजाड देखिन्छ । तस्बिर–७ मा काठमाडौँका कुन–कुन स्थान चिन्न सक्नु हुन्छ ? बीचतिर ठाडो धर्सोजस्तो देखिने क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । काठमाडौँको तुलनामा नेपालको उत्तरी भेगका हिमनदीका तस्बिर अन्तरिक्षबाट निकै आकर्षक देखिन्छन् । एउटा उदाहरण तस्बिर–८ मा देख्न सकिन्छ । हिमनदीहरू सयौँ मिटर गहिरा र कहिलेकाहीँ धेरै किलोमिटरसम्म लम्बाइ भएका हिउँका थुप्रा हुन् । हिमालमा स्थायी रूपमा हिउँ रहने हुँदा त्यसबाट बिस्तारै, वर्षमा केही मिटर मात्र बग्दै यी हिमनदी बन्छन् । आफ्नो बाटोका सबै पदार्थ पुर्दै र पिस्दै हजारौँ वर्षदेखि रहेका यस्ता हिमनदी नेपालमा प्रशस्त संख्यामा छन्, जसको छेउछाउमा हिमाली ताल र नदीहरू अवस्थित हुन्छन् । जलवायु परिवर्तनले गर्दा स्वच्छ पानीका भण्डार यी हिमनदीको आकार पनि घट्दै गएको छ भने यिनको संख्या पनि कम हुँदैछ ।

हिमाली क्षेत्रकै अर्को परिदृश्य तस्बिर–९ हो । यसमा नुप्त्से र ल्होत्से हिमालको बीचमा अवस्थित सगरमाथासँगै केही हिमनदीहरू पनि देख्न सकिन्छ ।

Page 22
संवाद

‘संविधानले बनाएको संरचना उल्टाउने हाम्रो मनसाय छैन’

बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा गरेर राजनीतिमा हाम फालेका चर्चित पत्रकार हुन्, रवीन्द्र मिश्र । साझा पार्टी र विवेकशील नेपालीको एकतापछि बनेको विवेकशील साझा पार्टीका संयोजक छन् उनी । यतिबेला आउँदो संसद्मा सशक्त राष्ट्रिय पार्टीका रुपमा दर्ज हुने दाबीका साथ उनी त्यसको रणनीति बनाउनमा व्यस्त छन् । तिनै मिश्रसँग बाबुराम विश्वकर्माको संवाद :

 

स्थानीय चुनावमा तपाईंको पार्टीले काठमाडाँै र ललितपुरबाहेक कतै उल्लेख्य मत हासिल गर्न सकेन, आउँदो चुनावमा के होला ?
स्थानीय चुनावमा हामीले काठमाडौँ र ललितपुरमा मात्रै मुख्य रूपमा उम्मेदवारी दिएका हौँ, जहाँ अत्यन्तै सम्मानजनक मत ल्यायौँ । पार्टी जन्मने बित्तिकै, राम्रोसँग आकार पनि लिन नपाउँदै चुनावमा होमिँदा पनि सम्मानजनक मत आउनु आफैँमा सुखद हो । आसन्न संसदीय र प्रादेशिक निर्वाचनमा हामी सशक्त राष्ट्रिय पार्टी हुनेछौँ । त्यसैका लागि अहिले दु्रत गतिमा काम गरिरहेका छौँ ।

तपाईंको पार्टीको वैचारिक दर्शनचाहिँ के हो ?
हाम्रो पार्टीको नीति, कार्यक्रम र विचारलाई कुनै वाद र दर्शनमा सीमित गर्नु न्यायोचित हुन्न । किनभने, यो देश वादैवादको चर्चाले बर्बाद भइसकेको छ । यद्यपि, अन्तर्राष्ट्रिय राजनीतिक दृष्टिबाट चाहिँ हाम्रा नीति मध्यमार्गबाट कुनै दाहिने र कुनै देब्रेतिर छन् । जस्तो : सामाजिक स्थिरता, परम्परागत मूल्य–मान्यताको जर्गेनाजस्ता हाम्रा नीति मध्यमार्गबाट दाहिनेतिर अनि सामाजिक हितचाहिँ मध्यमार्गबाट केही देब्रेतिर हुनेछन् ।विचार र दर्शनले मात्र देश बन्ने भए त अहिलेका दलसँग पनि राम्रा विचार र दर्शन नभएका होइनन् । तर, खोइ त देश बनेको ?

दर्शन, संगठन अनि कुशल नेतृत्वबेगर तपाईंको दल कसरी सशक्त राष्ट्रिय पार्टी हुन सक्छ त ?
हाम्रो दलमा राजनीतिक विचाराधाराको अभाव छैन । हाम्रो राजनीतिक विचार हो, सहभागितामूलक लोकतन्त्र । अहिलेको आडम्बरी लोकतन्त्र हो, जहाँ केही नेता कोठामा निर्णय गर्छन् । अनि, त्यो निर्णय संसद्मा लगेर छाप लगाउँछन् । नेताहरू देखाउनका लागि मात्र लोकतन्त्र भन्छन् । तर, तिनलाई पार्टी र व्यक्तिगत जीवनमा लोकतन्त्रको आवश्यकता छैन ।

सहभागितामूलक लोकतन्त्र भनेको चाहिँ के ?
यसमा हरेक निर्णय जनताको व्यापक सहभागितामा हुन्छ, विकासका काममा उनीहरूको निर्णायक भूमिका हुन्छ, जनप्रतिनिधि चुन्दा पनि तल्लो तहकै जनताको निर्णायक भूमिका हुन्छ । किनभने, अहिले मुगुको एउटा गाउँमा कुनै दलको प्रतिनिधि चुनिनु पर्‍यो भने केन्द्रमा नेतालाई फोन गरिन्छ र उसकै आदेशमा चुनिन्छ । हामी त्यसलाई उल्टाउन चाहन्छौँ । हामी नेतामुखी होइन, जनतामुखी चुनाव चाहन्छौँ ।
हाम्रो अर्थतन्त्र कल्याणकारी राज्य–व्यवस्थामा आधारित हुन्छ । त्यो भनेको नर्वे, स्वीडेन, फिनल्यान्ड र अन्य कतिपय देशमा जस्तो बजारलाई प्रवद्र्धन र नियमन गरिएको हुन्छ । तर, राज्यले तल्लो तहका र संकटमा परेका नागरिकको हितका लागि विशेष अग्रसरता लिएको हुन्छ । अन्तत: त्यसले धनी र गरिबको खाडल कम गर्छ ।

राजनीतिक दल त तलबाट माथि अर्थात् पिरामिड शैलीमा बन्छन्, तपाईंहरूचाहिँ माथिबाट नेतृत्व चयन गरेर तल झर्दै हुनुहुन्छ, उल्टो भएन ?
हामीले दुइटै रणनीति लिएका छौँ । एउटा तलबाट माथि, अर्को माथिबाट तल । त्यो भनेको देशभरि तल्लो तहमा पार्टीका एकाइहरू गठन गर्न आह्वान गरेका छौँ, त्यही अनुसार पार्टी एकाइहरू बन्दैछन् । त्यसैगरी माथिबाट केन्द्रीय नेतृत्व चयन गरिएको छ । नयाँ पार्टी भएकाले केन्द्र र प्रदेशको नेतृत्व तलको सल्लाहमा माथिबाट बनाउने अनि तलको नेतृत्वचाहिँ तलैबाट उठेर आइरहेको छ । तलबाट आएको र माथिबाट गएको नेतृत्वलाई महाधिवेशनले समायोजन गरेर सशक्त संरचनामा ढाल्छ । महाधिवेशनबाट पार्टीले पूर्ण रूप लिएपछि चाहिँ माथिको नेतृत्व चयन पनि तलैबाट आएको नेतृत्वले गर्छ ।

कुनै पत्यारिलो राजनीतिज्ञबिना पत्रकार, पूर्वप्रशासक र पेसाकर्मीको भरमा राजनीतिक दल बन्ला र ?
यो देश बिगारेको कसले ? पत्यारिलो भनिएका राजनीतिज्ञले होइन ? राजनीतिमा जीवन नै बिताएर मृत्युशय्यासम्मै राजनीति बोकेर हिँडेकाले मुलुकको दुर्गति गरेका होइनन्  ? हामीले जति राजनीति बुझ्नुपर्छ, त्यति बुझेका छाँै, बुझ्नुनपर्ने राजनीति हामीलाई बुझ्नु छैन ।

त्यसो भए, हिन्दी फिल्म नायकमा त्यसका हिरो अनिल कपुरले जस्तै गर्ने रहर छ ?
त्यो त एउटा फिल्म मात्र भयो । यथार्थमा एक दिन हामी राम्रो गरेर देखाउँछौँ । हामी हार्नका लागि राजनीतिमा आएका होइनौँ, हामीलाई हार्ने छुट र सुविधा छैन ।

समाजमा अति नै राजनीतीकरण छ, त्यसलाई तोड्ने के कार्ययोजना छ तपाईंहरूसँग ?
नेपाली समाजमा जहाँ राजनीति हुनुपर्ने थियो, त्यहाँ भएन, जहाँ नहुनुपर्ने थियो, त्यहाँ गरियो । जस्तो : विद्यार्थी, प्राध्यापक, शिक्षक, कर्मचारी र पत्रकारमा राजनीति गरिएको छ । संसारमा कुनचाहिँ देशले यस्तो परिस्थितिबाट विकास गर्न सक्छ ? त्यसैले अब विवेकशील साझा पार्टीले राजनीति गर्नै नहुने यी ठाउँमा राजनीति गर्दै गर्दैन, समाजमा राजनीति गर्छ ।

विवेकशील नेपालीसँग एकता गर्नुभयो तर नयाँ शक्तिचाहिँ एकताका लागि किन अयोग्य भएको नि ?
विवेकशीलसँग हाम्रो मूल्य–मान्यता, आदर्श, उद्देश्य, इमानदारी सबै मिल्छ । त्यसैले एकता सम्भव भयो । तर, द:ुखका साथ भन्नुपर्छ– नयाँ शक्तिसँग धेरै कुरा मिलेन । त्यसैले एकता भएन ।

के कुरा मिलेन ?
उहाँहरूको राजनीतिक सोच, पृष्ठभूमि, उद्देश्य हामीसँग मिल्दैन । दशकौँ राजनीति गरेर नसकेर उहाँहरूले जुन धरातलमा फेरि राजनीति गर्न खोज्नुभएको छ, त्यो हाम्रा लागि अनुकूल छैन । त्यहाँ इमान, पारदर्शिता, पद्धति र स्थार्थरहित राजनीति भएको भए परिस्थिति अर्कै हुन्थ्यो । त्यो नभएकैले असल मानिसहरूले पनि छाडिसकेका छन् ।

तपाईंको पार्टीले आसन्न संसदीय चुनाव कसको नेतृत्वमा लड्छ ?
म र मेरा अर्का संयोजक उज्ज्वल थापाको नेतृत्वमा पार्टी चुनावमा जान्छ । म पनि चुनाव लड्छु र उज्ज्वलजी पनि लड्ने कुरा छ ।

तपाईं कहाँबाट लड्ने ?
म काठमाडौँ क्षेत्र नम्बर–३ मा जन्मे–हुर्केकाले त्यहीँबाट लड्छु ।

तपाईंको लक्ष्य प्रधानमन्त्री कि मुख्यमन्त्री ?
मुख्यमन्त्रीको कुरा छोड्नूस्, मेरो सपना विश्वासिलो, सुसंस्कृत राजनीतिक पार्टी निर्माण गर्ने हो, जसले नेपाललाई समृद्धिको बाटोमा लैजान सकोस् । त्यस क्रममा जे पनि हुन सक्छ ।

भनेपछि प्रधानमन्त्री बन्ने सपना छ ?
यो देशलाई बदल्छु भन्ने सपना र अठोट नभएको भए सहज जीवन त्यागेर आफँै बत्ती बालेर बाटो खोज्दै र खन्दै हिँड्ने थिइनँ । देश बदल्छु भन्ने आत्मविश्वासले भरिएर नै यो असहज बाटो हिँडेको हुँ । भोलि मुख्य नेतृत्वमा पुगेँ भने यो देशलाई बदल्न सक्छु भन्ने अठोट छ । त्यसैले मैले प्रधानमन्त्री हुने सपना छैन भन्नु झूटो हुन्छ । यो चुनावबाट होइन, पाँच वर्षपछिको चुनावबाट देशको नेतृत्व हामीले नै गर्छौं ।

गणतन्त्रप्रतिको तपाईंको प्रतिबद्धतामा धेरैलाई शंका छ, के भन्नुहुन्छ ?
मलाई त्यसैमा मात्र शंका गर्छन् र ? अरू धेरै कुरामा गर्छन् । बारम्बार मैले स्पष्ट शब्दमा भनेको छु, वर्तमान संविधानले जुन संरचना बनाएको छ, त्यो बदल्ने वा उल्टाउने हाम्रो मनसाय छैन । यही संरचनाभित्रैबाट यो देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ ।

संवैधानिक राजतन्त्रप्रति तपाईंको नरमपना थियो, बेलायतमा बसेकाले हो या अरू कुनै कारणले ?
यो ‘लोडेड’ र आशंकापूर्ण प्रश्न हो । तर, म फेरि दोहोर्‍याउँछु– अहिलेको संविधानले गणतन्त्र अंगीकार गरेको छ, राजतन्त्रका बारेमा केही भनेको छैन । संविधानले संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई अंगीकार गरेको छ, यी सबैलाई मानेर नै देश रूपान्तरणको प्रयास गर्ने हो । यसलाई उल्टाउने होइन । हरेकपटक व्यक्तिको विचार अनुसार संविधानको धारा परिवर्तन गरेर देश अघि बढ्न सक्दैन ।
जहाँसम्म राजतन्त्रप्रति मेरो नरमपनाको प्रसंग छ, ‘मेरो बाजेले घिउ खाएका थिए, हात सुँघ’ भन्ने संस्थाको म कहिल्यै पनि समर्थक होइन । तर, राजतन्त्र हटाउने आन्दोलनका बेला मैले नारायणहिटी दरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार प्रतिस्थापन नगरौँ भनेकै हो । त्यो कुरा अहिले धेरै नेपालीलाई महसुस भएको छ ।

प्रसंग बदलौँ, मासिक सात लाख रुपियाँ कमाउनुहुन्थ्यो, अहिले दैनिक खर्च कसरी चलेको छ ?
मेरा दुइटा घर छन् । एउटा भैँसेपाटीको घर हो, अर्कोचाहिँ भाडामा दिएको छु । पहिला मेरो परिवारको आर्थिक अवस्था राम्रो थिएन, म बीबीसीमा काम गर्न थालेपछि सुधार भएको हो । बीबीसी छाडेपछि मेरो सम्पूर्ण आयस्रोत घरभाडा मात्रै हो, यद्यपि, मेरा ऋण पनि छन् ।

साझा पार्टी बनेदेखि अहिलेसम्मको खर्च कति होला ?
साझा पार्टीको मात्रै ६ महिनाको खर्च करिब ७०–८० लाख रुपियाँ होला ।

पार्टीको खर्चचाहिँ कसरी जुट्छ ?
पार्टीलाई हाम्रा शुभेच्छुकहरूले पैसा दिएका छन् । दुई पार्टीको एकतापछि कोष संकलन गर्न अरू सहज हुन्छ ।

तपाईंको पार्टीमा सुकिलामुकिलाहरूकै दबदबा छ, गरिबले त्यहाँ कसरी राजनीतिक गर्ने ?
हाम्रो पार्टीमा आर्थिक रूपमा कोही अलि बलियो, कोही अलि कमजोर छन् । उमेरमा कोही २१ को त कोही ६४ को छन् । विषयविज्ञ र जातीय आधारमा पनि व्यापक विविधता छ । एउटा कोठामा बैठक गर्दा सिंगो नेपाल नै प्रतिविम्बित हुन्छ । त्यो हाम्रो ठूलो शक्ति हो । सुकिलामुकिला भन्ने शब्दको गलत प्रयोग भएको छ । हाम्रो त उद्देश्य नै हरेक नागरिकलाई सुकिलामुकिला बनाउने हो र हुनुपर्छ । को व्यक्ति भेट्नुहुन्छ, जो सम्पन्न या सुकिलो भएर हिँड्न चाहँदैन ? तर, एक प्रकारको राजनीति गर्नेहरूले सुकिलामुकिला शब्दलाई नै ‘अछूत’ बनाएका छन् । भ्रष्टाचार, गलत काम गरेर होइन, श्रम, मिहिनेत र व्यवसाय गरेर कोही सुकिलामुकिला हुन्छन् भने हामीले उसलाई नमन गर्नुपर्छ ।

शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल र बाबुराम भट्टराईप्रति तपाईंको दृष्टिकोण के हो ?
यी चारै जना यस्ता राजनीतिकर्मी हुन्, जसले देश रूपान्तरण गर्न सक्नुभएन र गर्ने सम्भावना पनि छैन ।

अन्त्यमा, नेतालाई कडा प्रश्न सोध्न सजिलो कि अरूको प्रश्नको जवाफ दिन ?
दुइटै उस्तै लागेको छ मलाई । किनभने, कठिन प्रश्न सोधेकै थिएँ । अहिले कठिन प्रश्नको जवाफ पनि दिएकै छु ।

Page 23
सन्दर्भ

महामहिमलाई डेराकै तनाव

सरकार र घरधनीको द्वन्द्वले पूर्वराष्ट्रपति रामवरण यादवको डेरामा सधैँ कचकच
- रामबहादुर रावल

सारा नेपाली दसैँको चटारोमा रहेका बेला पूर्वराष्ट्रपति रामवरण यादवलाई भने बेग्लै तनावले गाँजेको छ । राजधानी उपत्यकाका आम डेरावालले बेलाबेलामा भोग्नुपर्ने तनाव उनलाई आइलागेको छ । पाँच महिनाअघि नै घरधनीले उनलाई डेरा सर्न दबाब दिइरहेका छन् । साउनदेखि असोजसम्मको गरी पछिल्लो तीन महिनाको ४ लाख ३३ हजार ३ सय ३५ रुपियाँ घरभाडा तिर्न बाँकी छ । ३५ हजार रुपियाँको बिजुलीको बिल घरधनीले थमाएका छन् । घर छाड्दा करिब १० लाख रुपियाँबराबरको मर्मतसम्भार गरी पुरानै अवस्थामा फर्काउनुपर्ने सर्त पनि घरधनी पक्षले तेस्र्याएको छ । यो सारा तनावका बीच यो मुलुकको सर्वोच्च ओहोदामा बसेको व्यक्तिको दसैँ त गुज्रिने करिब निश्चित छ । आगामी तिहार र छठ पनि यसै गरी बित्न बेर छैन ।
"
मुलुकको सर्वोच्च ओहोदामा आसीन भइसकेका व्यक्तिलाई टेलिफोनको घन्टी बजे पनि कतै घरबेटीको फोन हो कि भनेर झस्किनुपर्ने अवस्था छ । प्राय: उनको तारफोनमा घन्टी बज्दा सचिवालयका कर्मचारीले उठाउँछन् । तर, कहिलेकाहीँ उनी आफैँ फोन उठाउँछन् । र, नभन्दै घरबेटीकै वारेसको फोन आइपुग्छ । उही चिरपरिचित स्वर सुनिएपछि उनी आफँै स्पष्टीकरणबाट कुरा सुरु गर्छन्, ‘तपाईँले पनि दु:ख पाउनुभयो । मलाई पनि सजिलो महसुस भएको छैन । अब चाँडै सरकारले टुंगो लगाउला । चिन्ता नलिनू ।’

उता घरधनी पक्षको आफ्नै पीडा छ । घर बहाल सम्झौता सकिएको तीन महिना पुग्न लागिसक्यो । यो अवधिको घरभाडा, बिजुलीको बिल फस्र्योट गरिएको छैन । २५ वैशाखमै घरधनी रविभक्त विष्टका प्रतिनिधि अरूणप्रकाश श्रेष्ठले असारमा घरबहाल सम्झौताको अवधि सकिने स्मरण गराउँदै त्यसअघि नै सर्ने बन्दोबस्त गर्न सूचना दिएका थिए । राष्ट्रपति कार्यालयमा दर्ता गरिएको उक्त पत्रको बोधार्थ पूर्वराष्ट्रपति यादवलाई पनि दिइएको थियो । तर, असारभित्र घर त खाली गरिएन नै, नयाँ सम्झौता पनि गर्न सरकारले मानेको छैन । नयाँ सम्झौता नहुँदा घरभाडासमेत अड्किएको छ । श्रेष्ठ भन्छन्, “राष्ट्रको सम्मानित पदमा रहेको व्यक्तिलाई हामीले तनाव दिन खोजेका होइनौँ । तर, सरकारको काम गर्ने शैली र पद्धतिका कारण साह्रै झन्झट बेहोर्नुपर्‍यो ।”

 

सुरुदेखि नै लफडा
त्यसो त यादव शीतलनिवासबाट बाहिरिँदैदेखि डेराको लफडामा फसेका हुन् । ३ असोज ०७२ मा संविधानसभाले संविधान जारी गरेसँगै नयाँ राष्ट्रपतिको खोजी सुरु भएको थियो । तर, शीतलनिवासले नयाँ डेराको खोजी भने १० कात्तिक अर्थात् नयाँ राष्ट्रपतिको मनोनयन दर्ता भएपछि मात्रै थाल्यो । विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएर १२ कात्तिकमा शीतलनिवास प्रवेश गर्ने निश्चित भइसक्दा पनि पूर्वराष्ट्रपतिको डेराको अत्तोपत्तो थिएन । नेपाली सेनादेखि यादवका आफन्त, राष्ट्रपति कार्यालयका कर्मचारीको सम्पर्क–सञ्जालबाट डेराको खोजी थालियो । यत्तिकैमा बागडोलस्थित विष्टको घर बहालमा दिन सक्ने सूचना आइपुग्यो । केही आफन्तहरू बसिरहेको र भविष्यमा विदेशीलाई भाडामा दिने गरी घर तयार गरिएको थियो । पूर्वराष्ट्रपति नै घरमा बस्ने कुरा थाहा पाएपछि घरधनी विष्ट पनि दंग परे । अमेरिका निवासी विष्टले पहिलो प्रस्तावमै सहमति जनाए । यति भएपछि के चाहियो अरू ? नेपाली सेनाले भटाभट सामान ओसार्न थाल्यो । भण्डारीको शपथलगत्तै १२ कात्तिक साँझ नै यादव परिवार कार्गेडसहित नयाँ डेरामा प्रवेश गर्‍यो ।

नयाँ राष्ट्रपतिलाई स्वागत गरेपछि शीतलनिवासले पुराना राष्ट्रपतिलाई बिर्सियो । कतिसम्म भने पूर्वराष्ट्रपति बसेको घरको बहाल तिर्नुपर्छ भन्नेसम्म पनि ख्याल गरेन, शीतलनिवासले । न घरबहाल सम्झौता, न त भाडा नै पाएपछि घरधनीका पक्षबाट ११ जेठ १९ मा ललितपुर जिल्ला अदालतमा मुद्दा नै दायर भयो । सुरुमा त अदालत प्रशासनले मुद्दा दर्ता गर्नै मानेन, दरपीठ गरिदियो । पछि दरपीठविरुद्ध इजलासमै निवेदन दिएपछि जिल्ला न्यायाधीशले मुद्दा दर्ता गर्न आदेश दिए । जब अदालतबाट प्रत्युत्तरका लागि म्याद जारी भयो अनि मात्र शीतलनिवास पुराना राष्ट्रपतिको बसाइँलाई लिएर चासो व्यक्त गर्न थाल्यो ।
घरधनीका वारेस श्रेष्ठलाई बोलाइयो । मुद्दा फिर्ता लिन दबाब दिइयो । १२ असार ०७३ अर्थात् घर कब्जा गरेको ८ महिनापछि मात्र बहाल सम्झौता भयो । सम्झौताअनुसारको रकम पाउने भएपछि घरधनी पक्षले मुद्दा फिर्ता लियो । विषय यतिमै सीमित भएन । भाडा नपाएसम्म घरधनीले बिजुली महसुल नबुझाउँदा नेपाल विद्युत् प्राधिकरणको टोली बिजुली आपूर्ति नै कटौती गर्न बागडोल पुग्यो । पूर्वराष्ट्रपति यादव आफँैले लाइन नकाटिदिन अनुरोध गरेपछि रोकियो । १५ असार ०७३ मा घरधनीका प्रतिनिधि श्रेष्ठले १ लाख ७४ हजार ७ सय ३६ रुपियाँको बिल चुक्ता गरे । केही समय यादवलाई हाइसञ्चो भयो । दोस्रोपल्ट अर्को सम्झौता भयो, असार ०७४ सम्मका लागि । पुरानै भाडादर कायम गरियो । तर, तेस्रोमा आएर फेरि लफडा सुरु भयो ।


 

त्रिपक्षीय द्वन्द्व
खासमा असारदेखि पूर्वराष्ट्रपति यादव सम्झौताबिना नै उक्त घरमा बसिरहेका छन् । त्यसयताको भाडा रकम घरधनीले पाएका छैनन् । राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवले मासिक दुई लाख रुपियाँ नगदै बुझेर घरभाडाको कुरा आफैँ सल्टाओस् भन्दैछ । उता यादव भने भाडासम्बन्धी आर्थिक मामिलामा आफू संलग्न नहुने अडानमा छन् । ‘राज्यले मलाई जहाँ राख्यो, त्यहीँ बस्छु । घरमा राखे घरमा, सडकमा राखे सडकमा । आर्थिक मामिलामा फस्दिनँ,’ यादवको भनाइ उद्धृत गर्दै सचिवालय स्रोतको भनाइ छ ।

त्यसो त यादव आफैँ उक्त घरमा लामो समय बस्नु नपरोस् भन्ने पक्षमा छन् । सुरुमा आफ्नो छोरीको बसाइ नजिकै भएकाले बागडोल क्षेत्र नै मन पराए पनि पछिल्लोपल्ट उनी हाइटेन्सन विद्युत् प्रसारण लाइनमुनि बस्न अनिच्छुक छन् । तर, सरकारले नयाँ ठाउँको खोजी गरिदिएको छैन । शीतलनिवासका अधिकारीहरूका अनुसार, अघिल्लो आर्थिक वर्षमा घरधनीसँग राष्ट्रपति कार्यालयसँग सम्झौता गरे पनि यो वर्षको बजेटसँगै नयाँ नीति आएपछि सम्झौता गर्न कठिन भएको बताउँछन् । पूर्वराष्ट्रपति यादवले नै आफ्नो निवासका लागि आफैँ सम्झौता गरून् र राष्ट्रपति कार्यालयबाट उनले नगदै निकासा लिऊन् भन्ने पक्षमा शीतलनिवास छ । घरधनी पक्षको माग भने जसले रकम दिए पनि समयमा पाउनुपर्ने र अनावश्यक ढिलाइ, प्रक्रियागत झन्झट र हैरानी नहोस् भन्ने छ । घरधनीका प्रतिनिधि श्रेष्ठ भन्छन्, “मुलुकको प्रथम राष्ट्रपतिलाई घरमा राख्न पायौँ भनेर गौरवान्वित भएका थियौँ । तर, हाम्रो सिस्टमका कारण दु:ख पायौँ । यस्तो कुरामा समय खेर फाल्ने फुर्सद थिएन हामीसँग । बेकारमा उल्झनमा परियो ।”

तीनै पक्षबीच आगामी कात्तिकसम्म पर्खिने र प्रक्रिया निश्चित गर्ने अनौपचारिक सहमति भएको छ । तर, कात्तिकमा सल्टाउने हो भने पनि अहिलेदेखि नै त्यसको प्रक्रिया अघि बढाइनुपर्ने भन्दै घरधनीका प्रतिनिधि श्रेष्ठ कहिले यादवनिवासमा त कहिले शीतलनिवासमा धाइरहेका छन् । तर, सधैँ उही र उस्तै जवाफबाट उनी आजित छन् । भन्छन्, “ व्यावहारिकता र मौखिक आग्रहका कारण कात्तिकसम्म पर्खिने मन:स्थिति बनाएका थियौँ । तर, सरकारका पदाधिकारीमा खासै गम्भीरता देखिँदैन । फेरि मुद्दाकै प्रक्रियामा जानुपर्लाजस्तो भइसक्यो ।”

Page 24
विमर्श

राहदानीले नधानेको नेपाली स्वाभिमान

- अच्युत वाग्ले

नेपाली कांग्रेसका जल्दाबल्दा युवा नेता प्रदीप पौडेल जापानको हानेदा एयरपोर्टबाटै फर्काइएको समाचारको रन्को हराएको छैन । यो घटनाबारे उनले प्रस्टीकरण दिएका छन् । त्यसमाथि टिप्पणी गर्नुपर्ने आवश्यकता छैन । उनैले प्रस्ट भनेको कुरा के हो भने उनलाई प्रायोजन वा आमन्त्रण गर्ने मानिसलाई त्यहाँका अध्यागमन अधिकारीहरूले सम्पर्क गर्न खोज्दा भेटिएनन् । अनि, समस्या पर्‍यो । 

यसको अर्थ हो, उनले बोकेको नेपाल सरकारको छापयुक्त राहदानीमा जापानी दूतावासले लगाएको प्रवेशाज्ञाभन्दा बढी विश्वसनीयता जापानभित्रै बस्ने कुनै प्रायोजनकर्ताको छ । यो नेपाली राहदानीको वास्तविक नियति हो । नेपाली राहदानी बाहकले हरेक विकसित मुलुकका अतिरिक्त भारत र थाइल्यान्डका अध्यागमनमा समेत अपमानजनक व्यवहार, ढिलासुस्ती र असान्दर्भिक प्रश्नहरूको सामना गर्नुपर्छ । पौडेलको घटना अपवाद होइन । गत वर्ष नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि हङकङ अध्यागमनमा भएको घटना पनि सायद धेरैको स्मरणमा छ ।

अमेरिका, जापान, युरोपेली मुलुकहरू वा अस्ट्रेलिया पुग्ने नेपालीले ती देशका अध्यागमनमा खेप्ने सबै अपमानलाई गड्यौलाले हिलो पचाएझैँ पचाउन अभ्यस्त भइसकेजस्तो लाग्छ । अझै नेपालमा आफ्नो ठूलो नाम र पद–प्रतिष्ठा भएको ठान्नेहरू त कतै जम्काभेटमा यस्ता कुरा उठ्नेबित्तिकै अन्तै तर्किहाल्छन् । मानौँ, यस्तो व्यवहार खेप्नु कुनै अपमानको विषय नै होइन । बल्लतल्ल ती मुलुक छिर्न पाउनेहरू उपल्लो दर्जाको नागरिक भएको आडम्बरपूर्ण व्यवहार निरीह नेपालीका सामु प्रस्तुत गर्छन् । नेपाली राहदानीप्रतिको सम्मान बढाउन समस्यालाई छोपेर होइन, यसका कारणहरू उधिनेर समाधान गर्नुपर्छ । त्यसतर्फ मुलुकको कुनै तप्काको ध्यान गएकै छैन ।

वर्जित “हरियो”
चार वर्षअघि बेलायती हिउँदको चिसो अपराह्न थियो । त्यही बेलुका ‘सरप्राइज पार्टी’मा सहभागी हुने निम्तो भरत (थर नभनौँ)ले दिए । बर्मिङ्घममा हामी एउटै घरमा बस्थ्यौँ । यो पार्टी उनले रातो राहदानी (बेलायती राहदानीको चल्तीको नाम) पाएको खुसीयालीमा निवासमै आयोजित थियो । उनले बेलायती नागरिक बन्ने आवश्यक तालिम र लामै संघर्षपछि यो ‘सफलता’ पाएका थिए । स्वाभाविक हो, उनको खुसी असीम थियो । पार्टी सुरु भएको केही मिनेटमा रद्द भएको नेपाली राहदानी निकाले र कोठाको बीचतिर हुर्‍याउँदै भने, ‘आज यसबाट मुक्ति पाइयो । अब म बिनाप्रवेशाज्ञा क्यानडा र सजिलै प्रवेशाज्ञा लिएर अमेरिका जान पाउने भएँ ।’ अंग्रेजीमा कामचलाउ मात्र संवाद गर्न सक्ने उनलाई हरेक यात्रामा लन्डनको हिथ्रो एयरपोर्टको कुनातिर लगेर अध्यागमन अधिकारीहरूले आधा घन्टा/एक घन्टा केरकार गरेको पीडाबाट पाएको मुक्तिको मनोदशा कुनै दासमुक्तिको घटनाभन्दा सानो थिएन ।

भरतलाई नेपाली राहदानी त्याग्दा त्यत्रो खुसी हुने परिस्थितिको कारण र कारक खोज्नेतिर मुलुकको ध्यान जानै चाहेको छैन । घटनामा सतही प्रतिक्रिया दिएपछि आम र खास सबै नेपालीको कर्तव्य सकिन्छ । अहिले मुलुकबाट बाहिरिएका दसौँ हजार नेपाली हरेक वर्ष भरतले जस्तै पार्टी गर्छन् । आयोजक, आयोजना हुने सहर र पार्टीका निम्तालु मात्रै फरक हुन्छन् ।

करिब १५ वर्षअघिको कुरा हो । नेपालबाट अमेरिका जाने एउटा टोलीमा परराष्ट्र मन्त्रालयका रातो राहदानीधारी अधिकारीदेखि प्रहरीका डीआईजी र सेनाका कर्णेलसम्म थिए । हिथ्रोको ट्रान्जिटमा अध्यागमन पुग्नुअगावै सबैलाई एउटा रिबनले घेरेर कुनापट्टी पुर्‍याइयो । रातो र कर्मचारीको राहदानी देखाउन खोज्नेहरूलाई त्यहाँका सुरक्षाकर्मीहरूले ‘किन बढी जान्ने भएको ?’ भन्ने आशयको विस्फारित नजरले हेरे । सबैलाई एकएक गरी नांगै पारेर चेकजाँच गरियो । त्यो त्यहाँको सुरक्षा संयन्त्रले आवश्यक ठान्यो होला । तर, जाँचका क्रममा अधिकारीहरू थाहा नपाएजस्ता प्रश्न सोध्थे, ती सोझै अपहेलनायुक्त र आपत्तिजनक थिए । सुरक्षासँग विरलै सम्बन्धित थिए । नेपालीहरू संसारको सुरक्षा जोखिमका कारक बन्ने कुनै कारण थिएन । बेलायतमा त गोर्खालीहरू सुरक्षाकै पर्यायवाचीकै रूपमा छन् । हामी सबै कुनै न कुनै रूपमा नेपालको सरकारी निर्णय प्रक्रियामा कुरा पुर्‍याउन सक्ने नै हैसियतका थियौँ । बेलायती अधिकारीहरूको यस्तो व्यवहारलाई कम्तीमा काठमाडौँस्थित उसको दूतावासमार्फत कुरा राखौँ भन्ने मेरो प्रस्ताव थियो । तर, अरू सबैको एकमत केमा भयो भने, ‘यो उनीहरूको देशको नियम हो भै‘गो, हाम्रो देश नै यस्तै छ, यसलाई मुद्दा नबनाऔँ ।’ यो एउटा उदाहरण मात्र हो, नेपालीमाथि हुने व्यवहार र हाम्रो मरिसकेको प्रतिरोधग्रन्थि, दुवैको ।

शरीर खानतलासीको ‘र्‍यान्डम’ भनिने यो प्रक्रियामा आफू पटक–पटक परेपछि धेरै मुलुकका एयरपोर्टमा नेपाली राहदानीधारीलाई गरिने व्यवहारको यस्तो ‘प्याटर्न’मा कौतूहल हुनु स्वाभाविक थियो । विसं ०६२ मा हुनुपर्छ, अमेरिकाको डालास सहरबाट प्र्mयांकफर्ट उड्न लाग्दा याद गरेँ, पहिलो पंक्तिमा मेटल डिटेक्टर लिएर बस्नेले त्यसपछाडिको जाँचकीलाई केही संकेत गर्ने रहेछ । त्यो दोस्रो जाँचकीले कड्किएर सोधेको प्रश्न थियो, ‘राहदानीको रङ किन हरियो छानेको ? हातले लेखेको पनि राहदानी हुन्छ  ?’ ती प्रश्नको मसँग कुनै उत्तर थिएन । अर्को साल ह्युस्टनबाट उड्ने बेलामा पनि एउटा अधिकारीले अर्कोलाई सांकेतिक भाषामा ‘ग्रीन’ भन्यो । त्यसपछि मेरो शरीर जाँच भयो । खास गरी मुस्लिम मुलुकहरूले हरियो रङको राहदानी बढी चल्तीमा ल्याउनुको मार पनि नेपालीलाई परेको रहेछ । साँच्ची, नेपालले साधारण राहदानीको रङ हरियोचाहिँ किन राखेको होला ? यसको उत्तर मैले अझै फेला पारेको छैन ।

न्युयोर्क, सान फ्रान्सिस्को र हिथ्रो एयरपोर्टमा भारतीय मूलका सुरक्षाकर्मी र कर्मचारीहरूको बाक्लै उपस्थिति छ । उनीहरूको नेपालीप्रतिको व्यवहार गोरा अधिकारीहरूको भन्दा पनि कठोर भएको मेरो व्यक्तिगत अनुभव छ । यसको यकिन कारण पत्ता लगाउन सकेको छैन । हिथ्रोको अध्यागमनमा एक–दुई जना नेपाली मूलका अधिकारीहरू पनि काम गर्न थालेको हालसालै देखेँ । उनीहरू नेपालीसँग सकेसम्म बोल्न नपरे हुन्थ्योजस्तै गर्छन् । कहिलेकाहीँ लाग्छ, राष्ट्रियभाव र अपनत्व एउटा राहदानी फाल्नु र अर्को लिनुमा मात्रै रहेछ कि !

दिल्लीको दशा
३० वर्षयता, स्वास्थ्योपचार, सभा/सम्मेलन वा ट्रान्जिट यात्राका कारण भारतका मुख्यत: दिल्ली एयरपोर्टको अध्यागमनसामु सयौँ पटक उपस्थित हुनुपरेको छ, मैले । र, यो क्रममा सधैँ नै अनौठा र बेतुक प्रश्नको सामना गरिरहनुपरेको छ । संयोगले यसअघिको राहदानीको पहिलो पृष्ठमा पाकिस्तानको र त्यसपछिको पृष्ठमा चीनको प्रवेशाज्ञा लागेको थियो । राहदानी पल्टाउनेबित्तिकै हरेक भारतीय अध्यागमन अधिकारीको प्रश्न हुन्थ्यो, ‘ओहो † पाकिस्तान गए हो ?’ अनि, दोस्रो पाना पल्टाएर भन्थ्यो, ‘चाइना भी गए हो  ? कितनी बार ?’ म यन्त्रवत् भन्थेँ, ‘दुई–तीन चोटि ।’ प्राय: त्यो अधिकारी जुरुक्क उठेर कतै भित्र जान्थ्यो र झन्डै आधा घन्टा फर्कंदैनथ्यो । कहिलेकाहीँ आफ्नो सुपरीवेक्षकका साथ फर्किन्थ्यो । सामान्यत: केही भुतभुताउँथ्यो र प्रवेश दिन्थ्यो । त्यो राहदानी बोकेको १० वर्ष दिल्ली यात्रा गर्दा मेरो मन अकारण गह्रँुगो भएरै बित्यो । खास गरी अरू पाँच–सात पश्चिमा मुलुकको प्रवेशाज्ञा लागेपछि उनीहरूको व्यवहार अलि फरक भएको त पाएँ । तर, पहिलो पृष्ठ पल्टाउँदैमा उनीहरूको मुखाकृतिमा दौडिने अनौठा रेखाहरू भने समानै रहे । फेरि थप अरू मुलुकको पनि प्रवेशाज्ञा छाप देखेपछि ‘यत्तिका धेरै मुलुक किन घुमिरहन्छस् ?’ भन्ने नयाँ प्रश्न तेर्सिन थाल्यो ।

अक्सर, अर्को प्रश्न प्रवेशाज्ञाबारे हुन्छ । नेपालीलाई भारत आवतजावत गर्न प्रवेशाज्ञा चाहिँदैन भन्नेसम्म थाहा भएका अध्यागमन अधिकारीहरूमा पनि एउटा नेपाली तेस्रो मुलुकबाट भारत भएर फर्कंदा वा त्यता जाँदा भने भारतको प्रवेशाज्ञा हुनुपर्छ भन्ने अनौठो धारणा अझै कायम छ । सतह मार्ग भएर भारत छिर्ने र हवाई मार्ग भएर फर्कने क्रममा ‘प्रवेशको छाप नलागेको’ मुद्दामा मुम्बई एयरपोर्टमा गतवर्ष मात्रै पनि ठूलै झन्झट बेहोर्नु पर्‍यो । नेपाल र भारतबीचको अध्यागमनसम्बन्धी विशेष व्यवस्थाबारे पर्याप्त अभिमुखीकरण हुन नसकेको यी विषय दुई देशबीचको कूटनीतिक छलफलमा प्रवेश नै गर्दैन । जापानमा असजिलो पर्नु त के अस्वाभाविक भयो र, छिमेकमै अवस्था फेरिएको छैन ।

सबैले बुझेकै विषय हो, कुनै पनि मुलुकको नागरिकले बोक्ने राहदानीको मान्यता र इज्जत निक्र्यौल गर्ने दुईवटा मात्रै तत्त्व छन् । पहिलो, विश्व मानचित्रमा त्यो मुलुकको आर्थिक र सामरिक हैसियत । दोस्रो, यदि यस्तो ठूलो हैसियत छैन भने पनि त्यो मुलुकको उज्ज्वल र विशिष्ट छवि । साना मुलुक भए पनि लक्जेम्वर्ग र भ्याटिकनका नागरिकले नेपालीको नियति बेहोर्नु पर्दैन । किनभने, तिनलाई विश्वले हेर्ने दृष्टिकोण बेग्लै छ । अचेल भुटानी राहदानीले पनि क्रमश: त्यस्तो सम्मान पाउन थालेको मेरो व्यक्तिगत अनुभव छ ।

तर, नेपालीहरूको ध्यान मुलुकको हैसियत र इज्जत प्रवद्र्धनमा भन्दा नेपाली राहदानी त्याग्नमा बढी छ । राजाको शासनकालमा मूर्ति बेच्ने देश, बहुदलकालमा कूटनीतिक राजदानीको व्यापार गर्ने देश, त्यसपछि माओवादी आतंक एवं मानव तस्करी गर्ने देश र अहिले संक्रमणकालीन न्यायमा राज्य–प्रायोजित दण्डहीनता प्रवद्र्धन गरिएको देशको छवि नेपालले बनाएको छ । अनि, कसरी नेपाली राहदानीले अन्तर्राष्ट्रिय इज्जत पाउनू ? पहिले, मुलुकको छवि उजिल्याउन कोही त अग्रसर हुनु पर्‍यो । अनि, विदेशी एयरपोर्टबाटै फिर्ता हुनुपर्दैन, नेताहरूले पनि । आश्चर्य † पौडेल र भट्टराईहरू पनि यसमा गम्भीर बहस अगाडि बढाउन इच्छुक देखिँदैनन् ।

Page 28
आवरण

साइकल जिन्दगी

नेपाली समाजसँग दुई पांग्रेको अविछिन्न सम्बन्ध
- सुरेशराज न्यौपाने,गोकर्ण गौतम,विमल खतिवडा,जनक नेपाल,जितेन्द्र साह,ठाकुरसिंह थारू
चितवन, लंकुकी ७६ वर्षीया भूदेवी कँडेल 

काठमाडौँ/नारायणगढ/नेपालगन्ज/विराटनगर -‘३० डलरको साइकल चढ्ने नागरिकलाई ३० हजार डलरको कार चढ्नेसरह महत्त्व दिनु नै सच्चा लोकतन्त्र हो,’ सन् १९९८ मा पहिलोपटक कोलम्बियाको राजधानी बोगोटाको मेयर निर्वाचित एनरिक पेनालोसाले आफ्नो प्राथमिकता र सोच प्रस्ट्याए । पछि, उनले त्यसलाई व्यवहारमा पनि लागू गरे । मेयर निर्वाचित भएलगत्तै पेनालोसाले १५ अर्ब डलरको ठूला राजमार्गको परियोजनालाई खारेज गर्दै त्यो रकम सार्वजनिक यातायात, फुटपाथ र साइकलका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणमा खर्च गराए ।

तर, दक्षिण अमेरिकी सहर बोगोटाबाट करिब १६ हजार किलोमिटरको दूरीमा रहेको नेपालमा भने राजनीतिक नेतृत्व र सरकारी निकायको जोड साइकलभन्दा पनि आयातित इन्धन खपत गर्ने सवारी साधनको प्रवद्र्धनमा बढी केन्द्रित छ । जबकि, विगत एक शताब्दीदेखि नै नेपाली समाजको विकासक्रममा यो दुई पांग्रे सवारीको भूमिका अविछिन्न छ ।

यो बेग्लै कुरा हो कि नेपाल भित्रिएको धेरै समयसम्म पनि यो साधन राजधानीलगायतका सहरमा हुनेखानेको पहुँचमै रह्यो । राणा शासक र सम्भ्रान्तहरूको सोखको सवारी साधन थियो, साइकल । एक जना विदेशीको साइकल देखेर दंग परेका असन, कमलाक्षीका अष्टनारायण मानन्धर त्यसको व्यापार गर्ने निष्कर्षमा पुगे । अन्तत: उनले कलकत्ताबाट झिकाएका ६ वटा हर्कुलस ब्रान्डका साइकल राखेर विसं १९८५ मा काठमाडौँमा औपचारिक रूपमा साइकलको पसल थाले । यस अवधिमा साइकलका दर्जनौँ ब्रान्डले नेपाली समाजसँग साइनो गाँसिसकेका छन् । हर्कुलसबाट गाँसिएको त्यो साइनो रली, एभन, एटलस, हिरो, बीएसए, फोनिक्स हुँदै सन्तोषा, पोलिगनलगायतका ब्रान्डसम्म आइपुगेको छ ।

समयक्रममा सहरी बस्ती विस्तारसँगै भक्तपुर, खोकनाका तरकारी व्यापारी र सरकारी कर्मचारीहरूमाझ पनि यो साधन लोकप्रिय बन्दै गयो । राजधानीमा विशेष गरी ‘बूढो साइकल’को प्रयोग तरकारी–फलफूल व्यापार र कबाडी संकलनमा भइरहेको छ । त्यसबाहेक कुरिअरलगायतका नयाँ क्षेत्रमा पनि साइकल प्रयोगमा आइरहेको छ ।

तराई–मधेसको जनजीवनमा त साइकल समाजको एउटा अभिन्न मित्र नै हो । दशकौँदेखि सामाजिक र आर्थिक रूपान्तरणमा यसले निर्वाह गरेको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । उदाहरणका लागि, चितवनकी ६९ वर्षीया ललिता सापकोटा र सप्तरीका डा मातृका साहको पेसा बिलकुलै भिन्न छ । सापकोटा खेती किसानी गर्छिन् भने साह शिक्षण पेसामा छिन् । तर, यी दुवैबीचको एउटा समानता छ । दुवैको दैनिकी करिब चार दशकदेखि साइकलकै भरमा छ । उता नेपालगन्जका पाका पत्रकार पन्नालाल गुप्ताको जीवनबाट साइकललाई अलग गरिदिने हो भने अपूर्ण हुन्छ । झन्डै ४५ वर्षदेखि उनको जीवन साइकलमै गुडिरहेको छ ।

यी त प्रतिनिधि पात्र हुन् । अहिले पनि तराई मधेसका लाखौँ नेपालीको दैनिकीसँग जोडिएको छ, साइकल । पूर्व विराटनगर र पश्चिम नेपालगन्जलगायतका सहरका उद्योग–कलकारखानाहरूमा काम गर्ने श्रमिकहरूको यातायातको पहिलो साधन साइकल नै हो । सामाजिक रूपान्तरणमा विदेशी दाताका सहयोगमा लाखौँ डलर खर्चेर बनाइएका योजनाले भन्दा बढी योगदान दिएको छ, साइकलले । साइकलकै कारण महिलाहरूमा आएको जागरण र सशक्तीकरणमा चितवनले त छुट्टै ब्रान्ड नै बनाएको छ । राष्ट्रिय योजना आयोगको ताजा मानव विकास प्रतिवेदनमा सबैभन्दा उच्च मानव विकास सूचकांक भएका जिल्लाहरूमा काठमाडौँ उपत्यकापछि चितवन नै छ । गरिबीको सघनता सबैभन्दा कम भएको श्रमको उत्पादकत्व क्षमता उच्च भएको जिल्लाको सूचीमा पनि चितवन माथि नै छ । यी आशलाग्दा सूचकांकहरूका पछाडि साइकलले महत्त्वपूर्ण योगदान गरेको छ । यसका अलावा साइकलले विशेष गरी महिलाहरूलाई स्वतन्त्रता र आत्मविश्वास दिलाएको छ । अर्थशास्त्री विशेष पौडेल भन्छन्, “पहिले दिनभरिमा दुई गाग्रो पानी मात्र ल्याउन सक्ने छोरी–चेली साइकल पाएपछि मिल जान सक्ने, घाँस काट्न सक्ने भए, पानी बोक्न सकेर स्कुलसमेत जान सक्ने भए । स्कुलबाट आएर पनि काम गर्न सक्ने भए । यसले महिलालाई बढी काम गर्न सक्ने बनाइदियो ।” परिणामस्वरूप घरपरिवारमा महिलाको महत्त्व बढ्न गयो र त्यसले उनीहरूमा आत्मविश्वास थपिदियो ।

 
आदर्श माध्यमिक विद्यालयका विद्यार्थी, विराटनगर 


साइकल सहर

भरतपुर–१०, चितवनकी ललिता सापकोटा, ६९, को साइकलसँग अनौठो प्रेम छ । उनी साइकलबिना गुजारा गर्नै सक्दिनन् । घडीमा बिहानको ४ बज्न नपाउँदै उठ्छिन् । नुहाइ–धुवाइ, पूजापाठ सकेर साइकलमा सानो डोको अड्याउँछिन् । डोर्‍याउँदै नारायणगढस्थित तरकारी बजार पुग्छिन् । प्राय: एक हजार रुपियाँ खर्चिएर फरक–फरक तरकारी लिन्छिन् र भरतपुर डुल्छिन् । उनले ल्याउने तरकारी नियमित कुरेर बस्ने १० साना होटल छन् । ती होटलमा तरकारी पुर्‍याएपछि उनी घर–घर चहार्छिन् । विसं ०४५ बाट यो व्यवसाय थालेकी उनी पहिला डोकोमा बोकेर घरघर तरकारी पुर्‍याउँथिन् । पछि थाप्लोमा बोकिन् । उनको जीवनमा साइकल प्रवेश गरेपछि व्यवसाय चलाउन मात्र सहज भएको छैन, साइकलले उनलाई शक्ति पनि दिएको छ । “पहिला एक्लै थिएँ । अहिले साइकल साथी छ,” उनी भन्छिन्, “साइकल भएदेखि टाउकोले सुख पाएको छ । बिरामी पर्दा पनि तरकारी बोक्न छाडेकी छैन ।” त्यसैले त उनमा साइकल छ भनेपछि मरेको जाँगर पनि पलाउँछ ।

दुइटा साइकल हराए । अहिले १ हजार ६ सय रुपियाँमा किनेको साइकल छ उनीसँग । अगाडि सानो डोकी भएकाले तरकारी बोक्न सजिलो छ । साइकल नभए तरकारी व्यवसाय यो उमेरसम्म चलाउन मुस्किल पथ्र्यो । कति दिन भोकै पर्थिन् । तर, यही साइकलको सहारामा तरकारी बेचेर उनले तीन धुर जग्गा जोडिन् । जस्तापाता हालेर दुई कोठे घर बनाइन् । तीन छोरीको विवाह गरिदिइन् । छोरा भने १४ वर्षदेखि भारतमा छन् । छोराबाट नपाएको सहयोग उनले साइकलबाट पाइरहेकी छन् । श्रीमान् मुक्तिराम बिरामी परिरहन्छन्, उपचार खर्च जुटेको छ । “साइकल नै सहारा हो, यसैको भरमा जीवन धानेकी छु,” सन्तोषसाथ भन्छिन्, “अहिले त्यति टाढा जान त सक्दिनँ तर सास रहुन्जेल तरकारी बेच्न छाड्दिनँ ।”

आयस्तर र यसले दिने सुविधा हेरी उनलाई लाग्छ, साइकलको आविष्कार उनकै लागि भएको हो । पेट्रोल चाहिँदैन । जता लग्यो, उतै जान्छ । चालक अनुमतिपत्र चाहिँदैन । नौ वर्षको उमेरमा बिहे गरेकी र विद्यालयको दैलो नदेखेकी उनले दु:ख गरेर भए पनि छोराछोरीलाई शिक्षाको उज्यालो देखाइदिइन् । “अहिलेसम्म कसैसामु हात पिँmजाउनुपरेको छैन,” उनी भन्छिन्, “मलाई अरूको सामुन्ने हात नफिँजाउने बनाएकै यही साइकलले हो । त्यही भएर जति माया श्रीमान्को लाग्छ, त्यति नै माया यो साइकलको ।”

उनको भन्दा फरक कथा छ, भरतपुर–४, लंकुकी भूदेवी कँडेलसँग । अरू महिला साइकल चलाउन डराउँदा उनी निर्धक्कसँग साइकलमा दूध बोकेर बजार डुल्थिन् । त्यसैले उनले ‘हिम्मतवाली’को उपनाम पाएकी थिइन् । मान्छे छक्क परेर उनीतिर हेरिरहन्थे । कुरा ०३१/३२ सालतिरको हो । गाडी–मोटरसाइकल फाट्टफुट्ट गुड्थे । साइकल चलाउने पनि धेरै थिएनन् । बजारमा गोरुगाडा बढी चल्थे । दूधको भाँडो काँधमा बोकेर बजार जानु प्राय: किसानको दैनिकी हुन्थ्यो । धेरै दूध बोक्न पनि सकिँदैनथ्यो । भूदेवीले साइकलमा दूध ओसार्न थालिन् । १२ पाथीसम्म दूध बोकिन् । जाँदा दूध पोखिने डरले डोर्‍याउँथिन्, फर्किंदा चढेर आउँथिन् । नौ छोरी र एक छोराकी आमा उनले गर्भवती हुँदासमेत दूध ओसार्न छाडिनन् ।

साइकल चढेर नारायणगढ बजारबाहेक नवलपरासीको गैँडाकोट, भेडाबारीसम्म पुग्थिन् उनी । बिहान ६ बजेदेखि ९ बजेसम्म घरघरमा दूध पुर्‍याउन व्यस्त हुन्थिन् । “ज्यानले बोक्नु पर्दैनथ्यो । साइकल बलियो गरी चलाए जति पनि दूध बोक्न सकिन्थ्यो,” उनी भन्छिन् ।उनले अहिले पनि साइकल चलाउन छाडेकी छैनन् तर धेरै टाढा भने जाँदिनन् । माइती, छरछिमेक र मन्दिरसम्म जान्छिन् । “साइकल सिकेपछि कतै जान कसैको आश गर्नु पर्दैन,” उनी भन्छिन्, “छोराछोरीको बिहेदान गरेँ । दूध बिक्री गरेर जग्गासमेत जोडेँ । साइकल नभए यो सम्भव हुन्थेन ।”

सापकोटा र कँडेलजस्ता न्यून र मध्यम आयस्तर भएकाहरूका लागि साइकल सवारी मात्रै होइन, जीविकोपार्जन, आम्दानी र समृद्धिको माध्यम पनि हो । सुखदु:खको साथी हो । यसले दैनिकी त सहज बनाएको छ नै, थुप्रै आर्थिक–सामाजिक सम्बन्धका आयाम थपेको छ । आफूले उत्पादन गरेको दूध, तरकारी र फलफूल बजारसम्म पुर्‍याउन आफैँ सक्षम भएपछि धेरै साना किसानले आफैँ मोलतोल गरेर बेच्न सके । बारीमै कुहेर जाने उत्पादनलाई उनीहरूले साइकलमा बजार पुर्‍याएर आर्थिक गर्जो टार्न सके । मजदुरीमा जानेहरूलाई साइकलले छिटो पुर्‍यायो । फर्कंदा थकित ज्यानलाई आरामसाथ घर ल्यायो । आम्दानी र आरामको योगफलबापत उनीहरूले जग्गाको आकार बढाए । पक्की घर बनाए । तला थपे । छोराछोरीलाई स्कुल पठाए । अर्थात्, बजारदेखि शैक्षिक अवसरसम्म र स्तरीय आवासदेखि परिवर्तित जीवनशैलीसम्म निम्नवर्गीय समुदायलाई साइकलले जोडेको छ ।

अहिले पनि भरतपुर महानगरसँग जोडिएको कालिका नगरपालिकाको पदमपुरबाट दैनिक बिहान साइकलमा मजदुरी गर्न आउनेको ताँतीले सडक ढाकिन्छ । दैनिक पाँच सयभन्दा बढीको संख्यामा घर निर्माणमा ज्याला मजदुरीको काम गर्न करिब नौ किलोमिटर सडक छिचोल्दै भरतपुर आइपुग्छन् । घर बनाउने ठाउँमा दैनिक मजदुरी गरेर एक जनाले सात सय रुपियाँका दरले ज्याला पाउँछन् । कसैको यसभन्दा बढी पनि हुन्छ । तिनैमध्येका हुन्, रामचन्द्र–तेतारी गुरौ दम्पती । यो दम्पतीको घर कालिका–४, पदमपुर हो । सुकुम्बासी बस्तीका यी दम्पतीसँगै छोरी र छोरासमेत मजदुरी गर्न साइकल चढेर आउँछन् । चारै जनाको आ–आफ्नै साइकल छ । “मजदुरी गरेरै साइकल जोड्यौँ,” रामचन्द्र भन्छन्, “हामी गरिबको रोजीरोटी जुटाउने ठाउँसम्म पुर्‍याउने साधन भनेकै यही हो ।”

महानगरभन्दा भित्री बस्तीमा हेर्ने हो भने एक व्यक्ति एक साइकलजस्तो देखिन्छ । कुनै बेला साइकलको सहर भनेर चिनिने चितवनमा अहिले पनि यसको ‘क्रेज’ उस्तै छ । सदरमुकाम क्षेत्रमा पहिलाको तुलनामा कम साइकल गुडे पनि भित्री बस्तीमा मुख्य साधनका रूपमा साइकल नै प्रयोग हुन्छ । बजार क्षेत्रमा विद्यालय जाने बालबालिकाका लागि साइकल लोकप्रिय छ । गाउँघरमा गृहिणीको मुख्य साधन साइकल नै हो । खेतबाट मकै, धान र गहुँका बोरा बोकेर ल्याउन होस् वा तरकारी, दूध बोकेर बिक्री गर्न बजार जान होस्, सबैको साझा साधन साइकल नै हो । आमनागरिकको दैनिक जीवनयापनका हरेक चरणमा साइकलले सघाएको छ ।

चितवनमा ०१० देखि साइकल भित्रिन थाल्यो । त्यसबेला भारतबाट आउने लाहुरेले रेडियोसँगै साइकल ल्याउँथे । तर, ठूलाबडाले मात्र यो चढ्थे । साइकल चढ्नेलाई देख्दा आश्चर्य मान्नुपथ्र्यो । “नजिकमा साइकल पाउन गाह्रो हुन्थ्यो, किन्न भारत नै जानु पथ्र्यो,” चितवन साइकल व्यवसायी संघका अध्यक्ष धर्मराज सापकोटा भन्छन्, “महँगो पथ्र्यो, त्यही भएर हुनेखानेले मात्र साइकल चढ्थे ।” ०१५ बाट यहीँ साइकल पसल खुल्न थाले । त्यतिखेर पनि साइकल सबैको पहुँचमा थिएन । साइकल चढ्नेलाई धनाढ्य मानिन्थ्यो । पछि त यस्तो अवस्था पनि आयो, साइकल चलाउन नजान्ने महिलाको बिहे नै हुन गाह्रो हुन्छ भन्नेसम्मै उक्ति चल्यो । बाहिरबाट घुम्न आउनेहरू चितवनमा महिलाले साइकल चढेको देख्दा दंग पर्थे । ०४० बाट साइकल चढ्नेको संख्या ह्वात्तै बढ्यो र नारायणगढले साइकल सहरको परिचय नै पायो । त्यसपछि भने स्कुटर, साइकल, मोटरसाइकल र गाडी चढ्ने बढे । खेत, घडेरी बेचेर पनि मोटरसाइकल किन्ने लहर नै चल्यो । अहिले साइकल र अन्य साधन बराबरजस्तो देखिन्छन् । अध्यक्ष सापकोटाका अनुसार अहिले चितवनमा तीन सयको हाराहारीमा साइकल पसल छन् । एक जनाको घरमा सात वटासम्म साइकल देखेका उनी भन्छन्, “अहिले संख्या घट्यो तर साइकलमोह घटेको छैन ।”

व्यवसायीहरूका अनुसार चितवनमा पहिला कुल जनसंख्याको ९० प्रतिशतले साइकल चढ्थे । ०६० पछि यो दर कम भयो । अहिले पनि ८ देखि ८० वर्ष उमेरकाहरू साइकलमा हुइँकिएका देख्न सकिन्छ । घाँस–दाउरा, मेलापात, दूध बोक्न, विद्यालय जान यसको प्रयोग बढी हुन्छ । साइकललाई बहुपयोगी साधनका रूपमा व्याख्या गर्ने पनि प्रशस्त भेटिन्छन् । पछिल्लो समय साइकल छाडेर गाडी चढ्नेहरू रोगका कारण फेरि साइकलतिरै फर्किन थालेका छन् । स्वाथ्यका लागि साइकल भन्दै बिहानीपख कुदाइरहेका भेटिन्छन् । वातावरणमैत्री साधन भएकाले साइकल–संस्कृतिलाई अभियान बनाउने समूहहरू पनि सक्रिय हुँदै छन् । चितवनलाई चिनाउने काम साइकलले गरेको भन्दै महानगरलाई साइकल सिटीका रूपमा विकास गर्नुपर्ने माग बजारबासीको छ । “अब महानगरमा पूर्वाधार बनाउँदा साइकलका लागि छुट्टै लेन बनाइनुपर्छ,” अध्यक्ष सापकोटा भन्छन्, “यो साधनलाई सबैको साझा साधनका रूपमा स्थापित गर्न त्यही अनुकूलका पूर्वाधार जरुरी छ ।”

 
तस्बिर : भास्वर ओझा
मोडलद्वय : रंगकर्मी सिर्जना सुब्बा र मिस टुरिज्म–२०१६ उरुसा थापा ठकुरी (दायाँ)

घर व्यवहारको आधार
झोला बोकेर सरल पहिरनमा साइकल चढी गन्तव्यतर्फ हुइँकिनु प्रा मातृकाप्रसाद साह, ५८, को दैनिकी हो । विसं ०३८ देखि शिक्षण पेसामा आबद्ध वमनगामा कट्टी, मन्सापुर, सप्तरीका साहको साइकलसँगको नाता त्यसभन्दा पुरानो र गाढा छ । उनी दैनिक १० किलोमिटर साइकल गुडाउँछन्, घरदेखि क्याम्पससम्म ६ किलोमिटर र एकपटक बजार घुम्दा चार किलोमिटर । सप्तरीपछि ०५८ देखि महानगर विराटनगरलाई कर्मथलो बनाएका गणित र विज्ञान विषयका यी गुरुलाई चिन्नेहरूले ‘साइकल चढ्ने सर’ भन्छन् र आदर गर्छन् । स्थानीय विश्वकर्मा चोकवासी साहको सादा जीवनको चिनारी पनि साइकल नै बनेको छ । उनले त साइकल त्याग्न सकेनन् नै, परिवारका अन्य सदस्यले समेत अर्को साधन अपनाउन सकेनन् । स्वदेश र विदेशका विभिन्न थलोमा उच्च शिक्षा अध्ययनरत चारै सन्तानले पनि साइकललाई नै प्राथमिकता दिएको उनी बताउँछन् । छोरालाई मोटरसाइकल किनिदिँदा पनि पेट लाग्यो भन्दै साइकलतिरै फर्किएको उनको भनाइ छ । “मलाई अन्य वाहन चढ्ने रुचि नै भएन,” साइकल चढ्नुका अनेक फाइदा उनी सुनाउँछन्, “साइकल सवारीसँगै व्यायामको साधन पनि हो । मैले पढाएका विद्यार्थी वृद्ध देखिन थालिसके, म अझै जवान छु । यो उमेरमा पनि ढुक्कले मिठाई खान पाएको छु ।”
प्राध्यापकदेखि माटोसँग लडीबुडी गरिरहने मिहिनेती किसानसम्मको यो सवारीसँग अटुट साइनो छ, तराईमा । शिवनारायण मेहता, ६०, का लागि साइकल भनेको हातखुट्टासरह हो । सुनसरीगढी गाउँपालिका–४ का यी किसान सामान ओसार्न, हाटबजारमा तरकारी बेच्न, चिकित्सककहाँ जान र छोरानातिलाई डोर्‍याउन यही साधनको प्रयोग गर्छन् । ६ छोराछोरीका पिता मेहताको घरमा दुई साइकल छन् । तीन वर्षअघि जहदा–४, मोरङमा बिहे भएकी छोरी बबितादेवीलाई साइकलमै राखेर उनी घरसम्म पुर्‍याइदिन्छन् ।

स्थानीय सडकहरूमा एकाबिहानदेखि ठूलो संख्यामा श्रमिकहरू साइकल चढी काम र कारखानातिर लागिरहेका देख्न सकिन्छ । पेसाले घर निर्माण मिस्त्री बर्जु, सुनसरीका सोमा सरदार, ३५, र उनका सहकर्मीहरू साइकलबिनाको जीवनको कल्पनासमेत गर्न नसकिने बताउँछन् । किनभने, उनीहरूलाई घरदेखि कार्यस्थलसम्म पुग्न दैनिक दुई घन्टा लाग्छ । सरदार भन्छन्, “होस रहेदेखि चलाइरहेका छौँ,” सरदार भन्छन्, “बाँच्ने आधार नै हो साइकल । योबिना त विकलांग हुन्छौँ ।”

घर व्यवहारको बिँडो थामेका ग्रामीण महिलाले साइकललाई जीविकाको अभिन्न अंग बनाएका छन् । ग्रामथान, मोरङकी पूर्णीधामी विश्वास, ३५, यही सवारीमा मौसम अनुरूपको फलफूल र तरकारीको व्यापार गरेर मासिक १५ हजार रुपियाँसम्म कमाउँछिन् । बाल्यकालदेखि साइकल चलाउँदै आएकी यी तीन सन्तानकी आमा आफू अनपढ हुँदा पनि साइकलले बाँच्न सघाएको बताउँछिन् । विराटनगरको गुद्री बजारसम्म उनी दैनिक तीन घन्टा साइकल यात्रा गर्छिन् । झरी, जाडो र गर्मीमा पनि यो दैनिकी कायम रहन्छ । “किनमेलका लागि पारि जोगवनी बजार जान पनि साइकलमै सजिलो हुन्छ,” विश्वास भन्छिन्, “बूढो छुटोस् र तर साइकल नछुटोस् ।”

बन्द समाजमा बाँचेका स्वतन्त्रताप्रेमीलाई उन्मुक्तिको अनुभव पनि साइकलले दिलाउने रहेछ । कटहरी–१, मोरङकी सिसकुमारी माझी, २५, बसमा जस्तो धक्कामुक्का खानु नपर्ने भएकाले पनि आफ्नो पहिलो रोजाइ साइकल हुने बताउँछिन् । भन्छिन्, “आफ्नै हातमा ह्यान्डिल भएपछि जता मन लाग्यो, त्यतै जान पाइन्छ । घन्टाँै बिसौनीमा कुर्नुपर्दैन ।”पहाडतिरबाट पहिलोपटक तराई आएकाहरू मुख्य मार्ग, हाट र बजारमा महिला साइकल यात्रुले भरिएका दृश्य अनौठा मानी हेर्छन् । एक हातमा छाता र अर्को हातमा ह्यान्डिल समाएको अनि मोबाइलमा गफिँदै पाइडल मारिरहेको र धूलो एवं गर्मीबाट पछ्यौरीले मुख ढाकी एक सुरमा साइकल दौँडाइरहेका दृश्य सबैका लागि हेर्नलायक हुन्छन् ।

कटहरीकै टिकी माझी, ४०, को परिवारका चारै जना सदस्यसँग एक/एकवटा साइकल छन् । उनीहरू सबै जना पसल र कारखानामा काम गर्छन् । आफ्नो जागिरको आधी समय मधेसकै विभिन्न गाउँमा बिताएका उक्त गाउँपालिकाका नासु ५४ वर्षे भोजराज भुजेलले साइकललाई स्थानीय संस्कार एवं संस्कृतिका रूपमा बुझेका छन् । उनी स्वयं ३४ वर्षे जागिरे अवधिमा २७ वर्ष साइकलमा बिताएको बताउँछन् । अहिले मोटरसाइकलजस्तै त्यतिबेला दाइजोमा साइकल पाउँदा केटाहरू मख्ख पर्थे । साइकल नदिएकै कारण श्रीमती लिन नगएको, यसले सिर्जित तनावका कारण नवविवाहित जोडी अलग्गिएर बसेको, दुई परिवारबीच दूरी बढेको र पारपाचुकेसम्म भएका घटनाहरू उनी सम्झन्छन् । भुजेल भन्छन्, “सोच्नूस् त, त्यतिखेर आममान्छेका लागि साइकलले कतिसम्म महत्त्व राख्थ्यो ?”

समयसँगै महँगिएको यो वाहन अझै पनि ग्रामीण भेगमा बसोवास गर्नेका लागि अत्यावश्यक साधन नै हो । गाउँतिरका कच्ची सडकमा साइकल नै उपयुक्त हुन्छ । त्यही भएर अझै पनि अन्य आधुनिक सवारी भएका घरमा एउटा साइकल त जरुर हुन्छ । १० वर्षअघि थ्रेसर मेसिनमा अड्केर दाहिने हात गुमाएका मखनलाल चौधरी, ५१, का लागि साइकल नै हात बनेर आयो । तेतरिया पोखरटोल, ग्रामथान, मोरङका उनी दुर्घटनाअघि अधियाँमा खेती गर्थे । हात गुमेसँगै खेतीको सम्भावना सकियो । के गरी खाने ? उनको त्यो संकटको घडीमा साइकल नै सहारा हुन पुग्यो । उनी एक हातले साइकलको हेन्डिल समाउँदै पसलपसलमा सामान पुर्‍याएर मासिक १५ हजार रुपियाँसम्म आर्जन गर्छन् । भन्छन्, “मलाई देखेर धेरैलाई दया वा अचम्म लाग्ला तर पौरख गरेर खाँदा मलाई आनन्द लाग्छ ।”

पूर्वी भेगमा बिहान विद्यालय लाग्ने र बेलुकी छुट्टी हुने बेलामा सडकभरि साइकलमा विद्यार्थीको नागबेली देखिन्छ । ग्रामीण क्षेत्रबाट सहर पढ्न आउने स्कुले बालबालिकाका लागि त यो सवारी वरदान नै साबित भएको छ । मोरङको सीमावर्ती गाउँ जहदा–३, बबनटोलीबाट विराटनगरको आदर्श माध्यमिक विद्यालयमा पढ्न आउने कक्षा–१० की छात्रा महिमा राजवंशी भन्छिन्, “हाम्रो गाउँमा ८ कक्षासम्म मात्र पढाइ हुन्छ । त्यहाँबाट विराटनगर आउन गाडी पाइँदैन । दैनिक दुई घन्टा साइकल चलाएर आउजाउ गर्छु ।”उक्त सामुदायिक विद्यालयका १ हजार ५ सय ५० विद्यार्थीमा २५ प्रतिशत साइकलबाटै आउनेजाने गरेको प्राचार्य दुर्गाप्रसाद चुडाल बताउँछन् । उक्त विद्यालयमा सात किमि टाढाका सीमावर्ती गाउँहरूबाट विद्यार्थी आउँछन् साइकलमा ।

निम्नवर्गीयका लागि साइकल रोजाइ र बाध्यता दुवै हो । घरको कुखुरालाई हाटबजार पुर्‍याउनेदेखि बाँसको खुंगी बनाएर बेच्नेसम्मका लागि साइकल नै एक मात्र सहुलियतपूर्ण ढुवानीको साधन हो । नन्दकुमार धौलाकोटी, ५३, आठ वर्षअघि साढे तीन हजार रुपियाँमा किनेको साइकलमा खुंगी बेच्न हाट पुग्छन् । मोरङकै ग्रामथान–४, कठरा बस्ने धौलाकोटी आफूले बनाएको खुंगी आफैँ बजारमा बेच्न सके दैनिक औसत ६ सय रुपियाँ आम्दानी हुने बताउँछन् ।

स्थानीय सहर, बजार र गाउँमा पुग्दा चोकैपिच्छे साइकल बिक्री एवं मर्मत पसल अवश्य भेटिन्छन् । महानगर विराटनगरमा मात्रै आठवटा थोक पसल छन् । सानादेखि ठूला सबै रूपरंगका लोभलाग्दा साइकल देख्न सकिन्छ । निकट सीमावर्ती सहर जोगवनी पनि यहाँको साइकल बजारको प्रमुख स्रोत हो । ७ सयदेखि ३ हजार ५ सय रुपियाँसम्मका साइकल बजारमा उपलब्ध छन् । विराटनगरमा दैनिक औसत ३० देखि ५० वटा साइकल बिक्री हुने व्यवसायीहरू बताउँछन् ।

साइकलको उपभोक्तामा श्रमिक, गृहिणी, शिक्षक, विद्यार्थी, कर्मचारी, ठेकेदार र चिकित्सकलगायत सबै वर्गका छन् । “जस्तोसुकै तीव्र गतिका सवारी आए पनि साइकलको महत्त्व कहिल्यै घट्दैन,” अग्रवाल भन्छन्, “परिवेश अनुरूप बजारमा हरेक दिन आकर्षक साइकल भित्रिएकै छन्, कतिपय गियरवाला साइकल त स्कुटी र मोटरसाइकलभन्दा कम छैनन् ।”योग गुरु एवं समाजशास्त्री मुकेश सिंहचाहिँ यो हल्का वाहनलाई तराईको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षसँग जोडेर हेर्नुपर्ने बताउँछन् । भन्छन्, “हतार नभएका बेला नजिकको दूरीमा साइकल चढ्दा इन्धनको पनि वचत हुन्छ, नृत्य र पौडीजस्तै यसबाट सम्पूर्ण अंगको कसरत भएर शरीर सन्तुलित हुन्छ ।”


वीरगन्जमा बालक

श्रमिकको साथी, गाउँसहर “कनेक्टर”
२७ भदौमा नेपालगन्जका पत्रकार पन्नालाल गुप्ताले आफ्नो ८९औँ जन्मोत्सव मनाए । चार दशक लामो इतिहास बोकेको साप्ताहिक किरणका उनी ‘वान म्यान’ रिपोर्टर/सम्पादक हुन् । उनको सरल जीवनशैली र निरन्तर सक्रियताको जो–कोहीले प्रशंसा मात्र गर्छन् । त्यसको एउटा आधार गुप्ताको साइकल जिन्दगी हो । अघिल्लो वर्षसम्म उनी आफँै साइकल चलाउँथे । नेपालगन्जमा हुने प्राय: औपचारिक कार्यक्रममा साइकल चढेरै पुग्थे । आफैँ रिपोर्टिङ गर्थे, समाचार लेख्थे र टाइप गर्न लगाउँथे । यो दैनिकी चलेकै ४५ वर्ष भइसक्यो । “साइकल जिन्दगीको एउटा हिस्साझँै बन्यो,” कलिलो उमेरबाटै साइकल चलाउन थालेको सुनाउँदै गुप्ता भन्छन्, “मधेसमा साइकल चलाउन सजिलो पनि छ । त्यसैले कहिल्यै विकल्प खोजिनँ ।”

गुप्ता साइकलमा पेसागत जिन्दगी गुजार्ने एक्ला व्यक्ति होइनन् । तराई–मधेसको दैनिकीको एउटा हिस्सा हो, साइकल । किसान हुन् वा मजदुर, साना व्यापारी हुन् वा राजनीतिक कार्यकर्ता, सबैको यात्रासँग साइकलको साइनो जोडिएको छ । गाउ‘गाउ‘सम्म फैलिएका सडक–सञ्जाल र निम्न एवं मध्यम वर्गको उकासिएको जीवनस्तरले विकल्पमा मोटरसाइकल र चारपांग्रे आइसके पनि पश्चिम तराईका मानिसको मुख्य बाहन साइकल नै हो ।

नेपालगन्जको सुर्खेत रोडस्थित औद्योगिक क्षेत्रको मूल गेटमा बिहान र सॉझ साइकलको ठूलै लस्कर पस्ने र निस्कने गर्छ । श्रम बजार पनि भनिने त्रिभुवन चोकमा हरेक बिहान सबै खालका श्रमिक टाढा–टाढाबाट साइकल चढेर रोजगारी खोज्न पुग्छन् । बिहान १० बजेको घन्टी बज्ने बेला विद्यालयका गेटहरूमा उस्तै साइकलको आहोरदोहोर चल्छ । सीमावर्ती बजारबाट तरकारी र फलफूल ओसार्ने व्यापारी हुन् वा मल, बीउ र औजार लिएर खेततर्फ हुइँकिइरहेका किसानहरू, साइकलले सबैको जीविका सहज बनाएको छ ।

५० वर्षअघि एउटा साइकल र एक तोला सुनको मूल्य झन्डै बराबरी पथ्र्यो, साढे चार सयदेखि साढे सात सय रुपियाँसम्म । सुन लगाउने र साइकल चढ्नेको वर्ग एउटै थियो । गाउ‘बस्तीमा हुनेखानेको घरमा मात्र साइकल हुन्थ्यो । साइकल किन्न सक्नेको समाजमा छुट्टै इज्जत र मानसम्मान थियो । मध्य र सुदूरपश्चिम क्षेत्रकै ठूलो सहर नेपालगन्जमा समेत त्यो बेला साइकल चढ्नेहरू आँैलामा गन्न सकिने मात्र थिए । सीमावर्ती भारतीय बजारबाट बिस्तारै साइकल भित्रिने क्रम बढ्यो । र, साइकल नभएको घरै नहुने बेला पनि आयो । “साइकल किन्दा हेलिकप्टर किनेजस्तो प्रचार हुन्थ्यो । हेर्नेको भीड लाग्थ्यो,” ५० वर्षदेखि नेपालगन्जमा साइकल व्यवसाय गर्दै आएका मेराज अहमद हिमालको अनुभव छ ।

साइकलले वास्तवमा गाउ‘ र सहरको दूरी घटाएको छ । रोजगारी, शिक्षा र व्यापारमा आममानिसको पहु‘च बढाएको छ । बाँकेको विकट मानिने राप्तीपारिको नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका अधिकांश बासिन्दाको दैनिकी साइकलले धानेको छ । उनीहरू नेपालगन्ज आउन साइकललाई यातायातको साधनका रूपमा प्रयोग गर्छन् । तरकारी बिक्री गर्न होस् वा मजदुरी गर्न, साइकल चढेरै आउँछन् । नरैनापुर गाउँपालिका, गंगापुुरका राजितराम यादव नेपालगन्ज दूध पुर्‍याउन घरबाट बिहान ७ बजे साइकल चढ्छन् । दिउँसो ३ बजे घर फर्किन्छन् । गंगापुरबाट नेपालगन्ज दूध पुर्‍याउन आउजाउ गर्न करिब सात घन्टाको साइकल यात्रा राजितरामको दैनिकी बनेको छ । उनी हरेक दिन ६० लिटर दूध बिक्री गर्छन् । “मोटर गाडी चल्दैन । दूधको व्यापार गर्न यही साइकलको भर छ,” साइकलबिनाको जिन्दगी कल्पनासमेत नगरेको उल्लेख गर्दै उनी भन्छन्, “साइकल नभएको भए यति टाढाबाट नेपालगन्ज कहाँ आउन सकिन्छ ?”

नरैनापुरका सोढेराम यादव पनि दूध बिक्रीका लागि दैनिक साइकल चढेर नेपालगन्ज पुग्छन् । गाउँमा दूध बिक्री हुन्न, सहर पुर्‍याएर उपभोक्ताको माग पूरा गर्नै मुस्किल हुन्छ । यस्तोमा गाउ‘को उत्पादन सहर भित्र्याउने प्रमुख साधन साइकल नै हो । “साइकल भए केको चिन्ता ?” उनी भन्छन्, “बिहान दूध लिएर हिँड्छु । बेचेर साँझ घर फर्किन्छु ।”

दूध, तरकारी, खाद्यान्न र पात, घाँस साइकलमा राखेर एकाबिहानै बिक्रीका लागि नेपालगन्ज पुग्छन् । धान, गहँु र मकै कुटाउन मिल पुग्छन् । बैजनाथ गाउँपालिका टिटहिरिया गाउँका महिलाहरू दैनिक साग र मौसमी तरकारी बिक्री गर्न साइकल चढेरै बजार पुग्छन् । आफैँले उत्पादन गरेको तरकारी बजार पुर्‍याउन साइकल निकै सहयोगी बनेको छ । टिटहिरियाको मात्रै होइन, आसपासका फत्तेनगर, शमशेरगन्ज, गुरदियालपुर, बर्दियाको बढैया ताल गाउँपालिकाका ग्रामीण क्षेत्रका महिलाहरू तरकारी र कृषि उत्पादन बिक्री गर्न साइकलबाटै नजिकका बजार पुग्छन् । खेतीपातीको काम सकेर फुर्सदका बेला उनीहरू मौसमी तथा बे मौसमी तरकारी बेचेर राम्रै आम्दानी गर्छन् । “पहिले साइकल चलाउन नजान्दा तरकारी बिक्री गर्न सकिएन । श्रीमान्ले साइकल किनिदिएपछि नेपालगन्जसम्मै तरकारी बिक्री गर्न पुग्छु,” बैजानाथ गाउँपालिकाकी कौशिला चौधरी साइकलको महत्त्व सुनाउँछिन्, “साइकल हामीजस्ता गाउ‘का महिलाको साथी हो । तरकारी बेचेर साइकलको मूल्य पाइसकेँ । घर खर्च पनि चलाइरहेकै छु ।” नेपाली जनजीवनमा साइकल साथी मात्र होइन, सहारा पनि बनेको छ । नेपालीका लागि साइकल आर्थिक–सामाजिक परिवर्तनको संवाहक हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ ।

Page 30
आवरण

जुर्मुराउँदै साइकल–प्रेमी

बुङमती ट्रेलका अध्यक्ष दीपेन्द्र बज्राचार्य र सचिव अनिल तुलाधर 

प्रदूषणमुक्त सहरको सपना र तन्दुरुस्त शरीर बनाउने आकांक्षा बोकेकाहरू अहिले साइकलको प्रवद्र्धनका लागि जुर्मुराएका छन् । ‘लिभेल काठमाडौँ’ अभियानले त राजधानीलाई बाँच्नलायक बनाउने हो भने साइकल प्रवद्र्धन गर्नुपर्ने भन्दै नीतिगत हस्तक्षेपका लागि दबाब कार्यक्रमहरू गर्दै आएको छ । उनीहरूकै पहलमा साइकल क्लब गठनदेखि नियमित रूपमा साइकल र्‍याली हुन थालेका छन् । कतिपय साइकल र्‍यालीहरू त अन्तर्राष्ट्रिय प्रतिस्पर्धाकै स्तरमा उक्लिइसकेका छन् । यस्ता साइकल क्लबहरू राजधानीमा मात्र सीमित छैनन् । पूर्व धरानदेखि पश्चिमको धनगढीसम्म यिनको सञ्जाल विस्तार भएको छ । सामाजिक अभियान र ऐतिहासिक सम्पदाहरूको प्रवद्र्धनका लागि समेत साइकल र्‍याली भइरहेका छन् । केही व्यक्ति र संस्था त काठमाडौँलगायतका सहरलाई ‘साइकल सहर’ बनाउने अभियानमै छन् ।

तिनैमध्येका एक हुन्, साइकल सिटी नेटवर्क नेपालका कार्यक्रम संयोजक मनीष महर्जन । उनी आबद्ध रहेको संस्थाको मुख्य उद्देश्य हो, सन् २०२० सम्म काठमाडौँलाई साइकल सिटीका रूपमा विकास गर्ने । नेपालको सबभन्दा ठूलो साइकल राइड ‘काठमाडौँ कोरा साइक्लिङ च्यालेन्ज’को आयोजक पनि यही संस्था हो । यो च्यालेन्जको पहिलो संस्करण सन् २०११ मा ३५ राइडर्स सहभागी थिए । यसको छैटौँ संस्करण गत १२ साउनमा सम्पन्न भयो, जहाँ तीन हजारभन्दा बढी साइकलप्रेमीले काठमाडौँ र यसवरपर शयर गरे । २ वैशाखमा ‘हेरिटेज राइड’ नामक अर्को साइकल यात्रा गरिएको थियो । टूर दे लुम्बिनीले नै प्रत्येक वर्ष गौतम बुद्धको जन्मदिनमा चारदिने काठमाडौँदेखि लुम्बिनीसम्मको साइकल यात्रा आयोजना गर्दै आएको छ । त्यसै गरी समृद्ध सिन्धुली अभियानले ऐतिहासिक सिन्धुली गढीको प्रवद्र्धनका लागि आगामी कात्तिकको तेस्रो साता ‘राइड टू सिन्धुली गढी’ साइकल टूरको आयोजना गर्दैछ ।
बिदामा राजधानीवरपर साइकलमा घुम्न जाने पनि उत्तिकै हुन्छन् । यसबाहेक ‘हेरिटेज ट्रेल’ अर्थात् सम्पदा मार्गको पनि ठूलो सम्भावना छ राजधानीमा । जस्तो : विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका, स्वयम्भू, बौद्ध, पशुपतिनाथ, चाँगुनारायण, भक्तपुर र पाटन दरबार स्क्वायर क्षेत्रलाई जोड्ने साइकल मार्ग । त्यस्तै, एकान्तकुना, भैँसेपाटी हुँदै बाहिरी बाटोबाट बुङमतीसम्म पुग्ने ‘बुङमती ट्रेल’ चर्चामा छ यतिबेला । पछिल्लो ‘हेरिटेज राइड’मा यही ट्रेल विकासका लागि आर्थिक संकलन गरिएको थियो । यसबाहेक पनि नेपाली सेना, नेपाल माउन्टेन बाइकिङ एसोसिएसनले पनि बर्सेनि माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्छन् ।
यसैगरी विगत ११ वर्षदेखि ‘याक अट्याक’ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई माउन्टेन बाइकिङ गन्तव्यका रूपमा चिनाउन ठूलो योगदान दिएको छ । नौ चरणमा हुने यो प्रतियोगिता बेसीसहरबाट सुरु भएर मनाङको थोराङ भन्ज्याङ हुँदै माथिल्लो मुस्ताङमा गएर टुंगिन्छ । यसक्रममा चालकहरूले ५ हजार ४ सय १६ मिटर उचाइलाई समेत छिचोल्नुपर्छ । सीमित संख्यामा प्रतियोगीहरूलाई सहभागी गराइने भएकाले यसमा भाग लिन विश्वभरका साइक्लिस्टहरूले चासो देखाउँछन् । पर्वतारोहण र पदयात्राहरूमा आउने पर्यटकहरूले समेत केही समय साइक्लिङका लागि खर्चने गरेको पर्यटन व्यवसायी र काठमाडौँका कोराको सहआयोजक सोसल टुर्सका राज ज्ञवाली बताउँछन् । साइक्लिङका लागि पर्यटकहरूको रोजाइ अन्नपूर्ण आधार शिविर, मनाङ, मुस्ताङ हुन् ।
तर, राज्य पूर्वाधार निर्माणमा गम्भीर नभएसम्म साइकल सिटीको अवधारणाले मूर्त रूप नलिने निश्चित छ । सहरी योजनाविद् सूर्य आचार्यका भनाइमा अहिलेको सडकको अवस्था हेर्दा पूरै राजधानीवासीलाई साइकलमै हिँडाउने हो भने साइकलले नै सहर ठप्प हुनेछ । उनी भन्छन्, “त्यसैले मेट्रोलगायतका सार्वजनिक यातायातका आधुनिक संरचना विकास गर्न सके सडकमा सवारीसाधनको चाप कम हुने र साइकल मैत्री सहरको सपना पनि साकार हुनेछ ।”
काठमाडौँ कोरा च्यालेन्जका अगुवामध्येका एक देवेन्द्र बस्नेतका अनुसार लेन विशिष्ट रूपमा नछुट्याइएकाले मोटरसाइकल र गाडी नै चल्छन् । लेनमै पनि साइकललाई प्राथमिकता दिइन्न । राजधानीभित्र जहाँ पुग्नुपरे पनि साइकल नै सहारा लिने गोकर्णेश्वर नगरपालिका–८, आरुबारीका देवेन्द्र भन्छन्, “साइकल चालकका लागि लेन मात्र होइन, ट्राफिक नियम पनि छुट्टै लागू हुनुपर्छ । हेल्मेट र बत्ती अनिवार्य गर्नुपर्छ ।”
साइक्लिङका गन्तव्यका रूपमा नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन होस् वा आवश्यक पूर्वाधार विकास गर्न– निजी क्षेत्रले नै पहल गर्दै आएको छ । जस्तै ‘बुङमती ट्रेल’लाई व्यवस्थित गर्न सरकारी निकायको मुख नताकेर स्थानीय रूपमै १५ जनाको एउटा समूह खटाइएको छ । समूहले रुटलाई व्यवस्थित गर्नेदेखि मुलुकमै पहिलोपटक संकेत चिह्न राखेको छ (हेर्नूस्, तस्बिर) । ‘बुङमती ट्रेल’का अध्यक्ष दीपेन्द्र बज्राचार्यका अनुसार साइकल ट्रेलका लागि साइकल पार्किङ स्ट्यान्ड, वर्कसप पनि बन्ने छन् ।

Page 32
आवरण

बाटो मोडिएपछि...

राजधानीको मुटुमै पर्छ, रानीपोखरीको छेउको कमलाक्षी । र, कमलाक्षीचोकबाट असनतर्फ लाग्नासाथ बाटैमा छ, कमलाक्षी गणेशको मन्दिर । मन्दिरको आडैमा एउटा साँघुरो गल्ली छ । गल्ली जति साँघुरो छ, त्यति नै फराकिलो छ भित्री भाग । त्यहाँ देखिन्छ, साइकल वर्कसप र भित्तामा ठड्याएका साइकलहरू । त्यसभन्दा पनि रोचक लाग्छ, साइकल रेस्टुराँ । अन्य रेस्टुराँमा जस्तो महँगो सजावटका सामग्री र पेन्टिङ छैन त्यहाँ । एक छेउदेखि अर्को छेउसम्म भित्तामा टाँसिएका छन् लोभलाग्दा डिजाइन र रङका साइकल । दुई जनाले चलाउन मिल्ने ट्यान्डमदेखि माउन्टेन बाइकिङमा प्रयोग गरिने इन्डिरो साइकललाई भित्तामा अड्याइएको छ । त्यति मात्र होइन, रेस्टुराँका कतिपय टेबुल र बस्ने मेचसमेत साइकलकै सामग्रीबाट बनेका छन् ।

यस्तो अनौठो सजावट र दृश्यका परिकल्पनाकार हुन्, तिरेक मानन्धर । यो रेस्टुराँ वैशाखदेखि मात्रै सुरु भएको हो । रेस्टुराँमा उनको प्रत्यक्ष लगानी नभए पनि त्यसको अवधारणामा उनको ‘कपिराइट’ छ । मानन्धर भन्छन्, “मैले नै जग्गा भाडामा लिएर भाइहरूलाई रेस्टुराँ चलाउन दिएको हो ।” तर, रेस्टुराँमा राखिएको साइकलहरूचाहिँ सबै उनैले दिएका हुन् । साइकल र तिरेकबीचको सम्बन्ध त पुस्तैनी नै हो । उनकै जिजुहजुरबुबा अष्टनारायणले कमलाक्षीमै आजभन्दा करिब सय वर्षअघि राजधानीकै पहिलो साइकल पसल थापेका थिए । त्यो पसल आज पनि पञ्चनारायण–अष्टनारायणका नामले चर्चित छ । साइकल रेस्टुराँबाट करिब सय मिटरको दूरीमा छ, त्यो पसल । त्यसबाहेक कान्तिपथमा पनि अर्को पसल खोलेका छन् उनले । पुस्तैनी धरोहरलाई निरन्तरता दिने र व्यवसाय विस्तार गर्ने दुईवटै जिम्मेवारी छ उनको काँधमा । हुन त स्कुल र कलेज पढिन्जेलसम्म पनि मानन्धरको कम्प्युटर प्रोग्रामर बन्ने लक्ष्य थियो । पछि, पुल्चोकमा मेकानिकल इन्जिनियरिङ पढ्दै गर्दा भने आफ्नो विषयसँगै मिल्ने विद्युतीय सवारीमा केही नयाँ गर्ने उनको सोच आयो । तर, ०६२ मा अचानक उनको बाटो मोडियो । काकाहरूले पुस्तैनी साइकल व्यापारबाट हात झिके । करिब एक दशक पुरानो व्यवसाय नै बन्द हुने अवस्थामा पुग्यो ।

त्यो एउटा सामान्य व्यवसाय मात्र थिएन । नेपाली समाज त्यसमा पनि काठमाडौँका लागि त्यो धरोहर नै थियो । काकाहरूले हात झिकेकामा हजुरबुबा तीर्थनारायण मानन्धरको मन कुँडिएको थियो । उनी कुनै हालतमा पनि आफ्नै आँखा सामुन्ने त्यो व्यवसाय बन्द भएको हेर्न चाहँदैनथे । तीर्थनारायणले कहिलेकाहीँ पसलमा झुल्किने नाति तिरेकलाई केही दिनका लागि भए पनि व्यवसाय हेरिदिन आग्रह गरे । त्यतिबेला उनका दाजु पनि अस्ट्रेलियामा थिए । मूल घरकै एक्लो छोरो भएकाले उनका सामु अरू विकल्प थिएनन् । त्यसमाथि हजुरबुबाको आग्रह टार्ने कुरै भएन । हुन त हजुरबुबा तीर्थबहादुर मानन्धरले व्यवसाय हेर्दा नै उनी पसलमा पुग्न थाले । नातिलाई पसलमा देख्दा हजुरबुबा दंग पर्थे । भर्खरै पुल्चोकबाट मेकानिकल इन्जिनियरिङमा स्नातक तिरेकले साइकलको व्यापार हेर्न थाले । समयक्रममा नाति तिरेकलाई पनि व्यापारमा रस पस्यो । भन्छन्, “मलाई पनि किन त्यत्तिकै छाड्ने भन्ने भयो । र, पछि त यसैमा लत बस्यो ।”

०६२ सम्म पनि पुर्खौली व्यापार परम्परागत हिसाबले नै चल्दै थियो । साइकल बेच्ने र नाफा कमाउने । तर, तिरेकले त्यसलाई त्यत्तिमै सीमित राखेनन् । साइकलको होलसेल र खुद्रा त पुस्तैनी व्यवसाय भइहाल्यो । अहिले पनि एभन, एटलस, हिरो, बीएसएको नेपालको डिलरसिप छ । उनले पुराना साइकल खरिद गरेर नयाँ स्वरूपमा ढाल्ने र बेच्नसमेत सुरु गरे । भन्छन्, “मैले साइकल बेच्ने मात्र होइन, साइकलका लागि वातावरण बनाउनेतर्फ पनि ध्यान दिएँ ।” त्यसबाट पसलको ब्रान्डिङका अलावा साइकलको प्रवद्र्धनसमेत भएको उनी बताउँछन् । राजधानीमा हुने र्‍यालीहरूमा साइकल पनि दिन थाले । केही र्‍यालीमा त नयाँ–पुराना गरेर डेढ–दुई सयसम्म साइकलहरू दिएको उनको दाबी छ ।

राजधानीलगायतका ठाउँमा साइकलप्रति बढेको आकर्षण र चासोबाट उनी निकै उत्साहित छन् । यसले उनलाई यही क्षेत्रमा लागिरहन प्रेरणा दिएको छ । साइकल र त्यससँग जोडिएका उद्यममा नवीनता खोज्ने उनको लक्ष्य छ । काठमाडौँको एपेक्स कलेजबाट एमबीए गर्नुको उद्देश्य पनि व्यापार–व्यवसायमा नयाँ प्रयोग कसरी गर्ने भन्ने जिज्ञासा मेटाउनु नै थियो । आफूले कलेजमा प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न उनले ढिलाइ गरेनन् । जिजुहजुरबुबाले जुराएको पञ्चनारायण–अष्टनारायणलाई नै जोडेर ‘प्य्राङ्क बाइक’ को ब्रान्डिङ सुरु गरेका छन् । र, त्यसैको नामबाट रेस्टुराँको नाम पनि जुराएका हुन् । साइकलको प्रयोग बढाउन र प्रवद्र्धन गर्न घरमै गएर साइकलसम्बन्धी मर्मत, डेलिभरीलगायतका सेवा पनि सुरु गरिसकेका छन् । त्यसका लागि उनीसँग २२ कर्मचारी छन् ।व्यापारी कम्पनीहरूलाई आफ्ना उत्पादनको प्रचार गर्न निकै खर्च गर्नुपर्ने बाध्यता छ । त्यसबाट राहत दिन साइकलबाटै ‘स्पट अन एड’ सुरु भइसकेको छ । तिरेक भन्छन्, “काठमाडौँका साँघुरा गल्लीहरूमा साइकल गतिलो साधन बन्न सक्छ । यातायात र ढुवानी दुवै हिसाबले ।”

Page 37
आवरण

साइक्लिङको चस्का

गौरवशमशेर राणा, पूर्वप्रधानसेनापति

प्रधानसेनापति बनेपछि प्रत्येक शुक्रबार साइकल चढेर जंगी अड्डा पुग्थेँ । एक दिन प्रधानमन्त्री बाबुराम भट्टराईले सोध्नुभयो, “चिफ सा’ब † तपाईं त साइकल पो चढ्नुहुँदो रहेछ । कुनचाहिँ चढ्नुहुन्छ ?” मैले ठट्टैठट्टामा जवाफ दिएँ, “तपाईं प्रधानमन्त्री, म प्रधानसेनापति । प्रधानमन्त्रीज्यूले मुस्ताङ गाडी चढ्नुभएपछि प्रधानसेनापतिले पनि त्यस्तै साइकल चढ्नु पर्‍यो नि ! त्यसैले मुस्ताङ सुहाउँदो जोमसोम नामको नेपालमै जडित साइकल चढ्न थालेको छु ।” 

खासमा साइक्लिङका लागि फेरि अभ्यस्त हुन त्यो साइकल किनेको थिएँ । साइकल मेरो केटाकेटीदेखिकै सोख थियो, जसलाई युवावयमा मैले जीवनको अंग बनाएको थिएँ । म बबरमहलमा जन्मे, हुर्कें । बबरमहल परिसर फराकिलो थियो । हामी केटाकेटी भएकाले बबरमहलबाहिर जान प्रतिबन्ध थियो । सबै गरेर १०–१२ जना केटाकेटी थियौँ । हामीले उपाय निकाल्यौँ, साइकल भयो भने दरबारबाहिर निस्कने अवसर पाइन्छ । त्यसैले, साइकल किनिदिन आ–आफ्ना अभिभावकलाई आग्रह गर्‍यौँ । साइकल भएपछि दरबारबाट बाहिर निस्कन पाइन्छ भन्ने हाम्रो निष्कर्ष थियो । मैले बुबा र मुमालाई मेरा लागि पनि साइकल किनिदिन अनुरोध गरेँ ।

मुमाले सर्त तेस्र्याउनुभयो, “साइकल किन्ने हो भने जाँचमा राम्रो गर्नुपर्छ । ६० प्रतिशत कटायौ भने साइकल किनिदिन्छु । नत्र साइकल चढ्ने सपना नदेखे हुन्छ ।” भारतको सनावर, कसौलीस्थित लरेन्स स्कुलमा पढ्थेँ । साइकल चढ्ने रहर त्यतिबेला मात्र पूरा भयो, जब ७ कक्षा उत्तीर्ण गर्दा ६० प्रतिशत अंक ल्याउन सकेँ । त्यसबेला साइकल पाउनु निकै ठूलो कुरा थियो, अहिलेका किशोरकिशोरीले रोजेको मोटरसाइकल वा स्कुटी पाएजस्तो । त्यतिबेला साइकल पाउँदा संसार जितेजस्तो भयो । साइकल आएपछि घरबाट बाहिर निस्कन पाउने भयौँ । साइकलमा डुल्न निस्कनेमा काका भरतशमशेरका छोरा अर्थात् नन्दशमशेरलगायत थियौँ । बिदा हुँदा फुपूका छोराछोरी पनि काठमाडौँ आइपुग्थे । उनीहरू पनि आउँदा साइकल अपुग हुन्थ्यो । उनीहरूका लागि भाडामा साइकल लिन्थ्यौँ र काठमाडौँ–पाटनका गल्लीगल्ली चाहथ्र्यौं । बबरमहलबाट निस्कन पाएपछि हामी साइकलमा अनेक खालका चटक गर्न सिपालु भयौँ । नेपाली सेनामा भर्ती भएपछि भने मनोरञ्जनका लागि साइक्लिङ गर्न छाडेँ ।

मेजर हुँदा मेरो पोस्टिङ खरिपाटी, भक्तपुरस्थित सैनिक प्रतिष्ठानमा थियो । त्यस बेला मैले १० गियरको माउन्टेन बाइक किनँे । बबरमहलबाट खरिपाटीसम्म साइकलमा नै पुग्थेँ, साइकलबाटै फर्कन्थेँ । फुर्सदका बेला शनिबार काठमाडौँवरिपरिका डाँडाकाँडा पुग्थेँ । गाउँलेहरू मलाई अंग्रेज ठानेर ‘हेल्लो’ गर्थे । म सुरुमा अंग्रेजीमा बोल्थेँ, केही समयपछि नेपाली बोल्थेँ । उनीहरू छक्क पर्थे । साइकलले गाउँलेहरूसँग जिस्कने रमाइलो अवसर पनि जुराएको थियो ।

जब बढुवा हुँदै कर्णेल बनेँ, मेरो साइकलसँगको नाता टुट्यो । कामको बोझ थपिँदै गयो, त्यसपछि साइक्लिङ गर्ने मौका घट्दै गयो । उपरथी (मेजर जनरल) छँदा युद्धकार्य महानिर्देशनालयको जिम्मेवारीबाट मुक्त भएपछिचाहिँ फेरि साइकल किनेँ । अनि, प्रधानसेनापति भएका बेला कार्यालय जाँदा हरेक शुक्रबार सैनिक अधिकृतहरूले चक्रपथभित्र मोटर वा मोटरसाइकल चढ्न नपाउने आन्तरिक नियम बनाएँ । म आफैँ पनि प्रधानसेनापति निवास शशीभवनबाट घुमाउरो १५/१६ किलोमिटर बाटो साइक्लिङ गर्दै जंगी अड्डा पुग्थेँ । अरू अधिकृत पनि साइकलमा आउँथे । साइकलमा वा हिँडेर नआउनेहरू सार्वजनिक गाडी प्रयोग गर्थे ।

प्रदूषित बन्दै गएको राजधानीको वातावरण संरक्षणको काम एउटा व्यक्ति वा संस्थाले गरेर मात्र हुँदैन । राज्यले नै त्यस अनुसारको नीति बनाउनुपर्छ, बनाइएका नीतिहरूको कडाइका साथ पालना गर्नु/गराउनुपर्छ । सैनिक अधिकृतहरूले हप्तामा एक दिन साइकल चढेर मात्र काठमाडौँको प्रदूषणमा कमी आउने त होइन । तैपनि, वातावरण संरक्षणको सन्देश दिन सकियोस् भनेर पनि मैले त्यो प्रयास गरेको थिएँ । चक्रपथभित्रका सैनिक कार्यालयमा प्रत्येक शुक्रबार साइकल चढेर जाने नियम अहिले त बन्द भइसक्योजस्तो लाग्छ । तर, साइक्लिङप्रतिको मेरो रुचि भने घटेको छैन, अरू बढेको छ । प्रत्येक महिनाजस्तो म काँठका गाउँहरू साइकलमा पुगेको हुन्छु । ६३ वर्ष पुगिसकेँ तर साइकल सम्झेपछि केटाकेटी र किशोर उमेरको जोस जागिहाल्छ । अनि, म साइकल कुदाएर घुम्न निस्कन्छु ।

Page 40
आवरण

वर्गीय विभेद हटाउने साधन

- भूषण तुलाधर

निर्वाचित डेनिस सरकारका मन्त्रीहरू, अक्टोबर २०११  ।  तस्बिर स्रोत : भ्यामवर्ग/गेल आर्किटेक्ट्स

काठमाडौँमा एक ठाउँबाट अर्को ठाउँमा जान औसत दूरी पाँच किलोमिटर तय गर्दा हुन्छ । अर्थात्, चक्रपथको एउटा बिन्दुबाट सहरको मध्य भागसम्मको दूरी हो । पाँच किलोमिटरको दूरी साइकलका लागि सामान्य हो । साइकल मौसमका हिसाबले पनि अनुकूल छ । यति धेरै अनुकूलताका बाबजुद यसको प्रवद्र्धन भने हुन सकेको छैन ।तराईमा सामाजिक विम्बका अलावा महिलाहरूलाई अगाडि ल्याउन पनि साइकलले ठूलो योगदान गरेको छ । अधिकांशको दैनिकी साइकलमै टिकेको छ । त्यसैले आर्थिक र सामाजिक दुवै हिसाबले साइकल महत्त्वपूर्ण माध्यम हो । सय वर्षअघिका साहित्य हेर्ने हो भने अमेरिकी महिलाहरूको सशक्तीकरणका लागि पनि साइकलले निकै सकारात्मक भूमिका खेलेको देखिन्छ ।

मुख्य रूपमा साइकलको भूमिका भनेको धनी र गरिबलाई एउटै स्तरमा ल्याइदिन्छ । गरिबले पनि चढ्छ, धनीले पनि चढ्छ । अर्को कुरा, सडक भनेको सबैका लागि हो । यदि त्यो सडक सबैका लागि हो र त्यसको डिजाइन पनि सबैका लागि गर्न सक्यौँ भने त्यो वास्तवमा लोकतन्त्र हुन्छ । र, साइकल भनेको अधिकांशले खरिद गर्न सक्ने यातायातको साधन हो । हाम्रोजस्तो देशमा सबैजसोले साइकल किन्न सक्छन् । पछिल्ला वर्षहरूमा काठमाडौँजस्ता सहरमा वातावरण संरक्षण पनि अहम् विषय हो ।

राजधानीको बढ्दो प्रदूषण नियन्त्रण गर्न पेट्रोलियममा आधारित यातायातका साधन निरुत्साहित गर्नैपर्छ । त्यसका लागि प्रथमत: हिँड्नलाई प्रेरित गर्नुपर्छ । अहिले पनि यहाँको ४० प्रतिशत यातायात हिँडेर नै तय हुन्छ । दोस्रो, साइकलमैत्री हुने र तेस्रो, सार्वजनिक यातायातलाई सुधार गर्ने हो । गाडीको संख्या त वृद्धि हुन्छ नै । मान्छेले आवश्यक पर्दा गाडी किन्न पाउनु पनि पर्छ । तर, काठमाडौँमा सडकको सीमा छ । सडक चौडा पार्दैमा समस्या समाधान हुनेवाला छैन । विश्वमा कहीँ पनि सडक चौडा गर्दैमा ट्राफिक जाम कम भएको छैन । यातायात प्रणालीमै सुधार ल्याउनुपर्छ ।

हाम्रा लागि उपयुक्त यातायात प्रणाली भनेकै साइकल हुन सक्छ । साइकल संस्कृति प्रवद्र्धन गर्न सडक सजिलो बनाइदिने र साइकल चलाउनुलाई समाजमा इज्जतिलो बनाइदिने हो भने जसले पनि साइकल चढ्छ । कोपनहेगनमा करिब ४० प्रतिशत यात्रा साइकलबाट हुन्छ र यो सम्भव छ भन्ने देखिइसकेको छ ।साइकल चलाउनेहरूलाई परेको समस्या भनेको प्रदूषण र असुरक्षा हो । साइकल यात्रालाई सुरक्षित बनाउने हो भने धेरै बढी साइकल चलाउनेहरू सडकमा आउनेछन् । यसका लागि सडकमा छुट्टै लेन नै बन्दोबस्त गर्नुपर्छ । आर्थिक रूपमा पनि साइकल लेन बनाउन कम स्रोतले पुग्छ ।साइकलको फाइदा भनेको वातावरणीय पक्ष त हो नै, स्वास्थ्यमा पनि सकारात्मक असर पर्छ । नेपालजस्ता मुलुकमा नसर्ने रोगहरूको अवस्था भयावह छ । मुटु, फोक्सोका रोगहरू बढेका छन् । साइक्लिङका लागि अनुकूल अवस्था भयो भने ती दुवै कुरा सम्बोधन हुन्छन् ।

अर्को कुरा, गाडी चढ्दा समाजसँग अन्तक्र्रिया नै हुँदैन । आफ्नै टोलका बासिन्दाबाट पनि टाढा भइन्छ । वर्गमा विभाजित हुन्छ समाज । एक किसिमले समाजसँग हिमचिम नै हुँदैन । हुनेखाने र गरिखानेबीच विभेद निम्त्याउँछ गाडीले । तर, साइकलले त्यो वर्ग विभेदलाई हटाउँछ । विभिन्न अध्ययनले जुन ठाउँमा साइकल र पैदल यात्रालाई प्रवद्र्धन गरिएको छ, ती बजार र गल्लीमा आर्थिक गतिविधि पनि बढेको देखाएको छ । युरोपका पुराना बस्तीहरू धेरै छन्, जहाँ साइकल र पैदलयात्रा मात्र गर्न पाइन्छ । स्टकहोममा गाम्लास्ताम, छिमेकमै गान्तोकको एमजी मार्ग, सिमलामा मल रोड छ । काठमाडौँमा यस्तो व्यवस्था नहुँदा भित्री क्षेत्रको अर्थतन्त्र खस्किँदै गएको छ । ठमेलमा पनि पहिलेजस्तो चमक छैन । नयाँ सडक र ठमेललाई पुन:जीवन दिने हो भने गाडीलाई प्रतिबन्ध लगाउनुपर्छ । सन् १९६९ को पहिलो गुरुयोजनामै काठमाडौँको भित्री भागमा गाडीलाई निषेध गरेर पैदल यात्रालाई प्रवद्र्धन गर्ने भनिएको थियो । तर, योजना अनुसार नीति बनाइएन ।

युरोपमा त साइक्लिङ संस्कृति नै बनेको छ । १५–२० वर्षअघिसम्म साइकललाई निरुत्साहित गर्ने नीति लिएको चीनले प्रदूषणको स्तर कहालीलाग्दो अवस्थामा पुग्न थालेपछि पुन: साइकल प्रवद्र्धन नीति लिएको छ । तर, यहाँ त सहरी सडक कस्तो हुनुपर्छ भन्ने खाकासमेत प्रस्ट छैन । सडक मापदण्ड बनेको छ तर सहरी सडकको मापदण्ड नै छैन । जबकि, राजमार्ग र सहरको सडकबीच आधारभूत भिन्नता हुन्छ भन्ने समेत हाम्रा नीति निर्माताहरूले विचारै गरेका छैनन् । सहरका सडकमा गाडी मात्र कुद्दैनन्, त्यहाँ त जीवन हुन्छ, संस्कृति हुन्छ, व्यापार हुन्छ । त्यसले नै सहरलाई जीवन्त बनाउँछ । मच्छिन्द्रनाथको रथ पनि त्यहीँ गुड्छ, बालबालिकाहरू पनि त्यहीँ खेल्छन् । त्यसैले सहरी सडकको मापदण्ड बनाउनेतर्फ ध्यान दिनुपर्छ ।

धेरैले गाडी किन्न नसक्ने अहिलेको यथार्थ पनि हो । यात्रा गर्नुपर्ने दूरी पनि छोटो छ । पछिल्लो समय युवाहरूमा साइक्लिङप्रति आकर्षण बढ्दो छ । पोखरा, धरान, बुटवल, नेपालगन्जलगायत सहरपिच्छे साइकल क्लबहरू खुलेका छन् । नेपालका साइक्लिस्टहरूले विदेशमा समेत प्रतियोगिता जित्न थालेका छन् । अन्य खेलकुदका माध्यमबाट विश्वस्तरका खेलाडी जन्माउन गाह्रो भइरहेका बेला माउन्टेन बाइकले इज्जत राख्न सक्छ । यसबाट एकातिर मनोरञ्जनको माध्यम हुन सक्छ भने अर्कोतर्फ नेपाललाई साइक्लिङ गन्तव्यका रूपमा चिनाउन सकिन्छ । सामाजिक र आर्थिक रूपान्तरणका लागि साइकल उपयोगी साधन बन्न सक्छ । समाजलाई जोड्न, वातावरण जोगाउन, नागरिकलाई स्वस्थ राख्न र अर्थतन्त्रलाई चलायमान बनाउन पनि साइकललाई प्रवद्र्धन गर्नुपर्छ ।

(वातावरणविद् तुलाधरसँगको कुराकानीमा आधारित)

Page 42
व्यक्तिचित्र

बोनस ३१ वर्ष

- राजकुमार बानियाँ

घरबाट निस्केपछि तारन्तार ‘नमस्ते’ पाउन थाल्छन्, पदम ठकुराठी, ६९ । गणना गर्ने हो भने यो संख्या दैनिक ३०–४० सम्म पुग्छ । परिचितको पनि नमस्ते ! अपरिचितको पनि नमस्ते ! नमस्ते फर्काउनुको विकल्पै छैन । उनलाई धेरैले चिन्छन्, उनले केहीलाई मात्र । 

ठकुराठीलाई थाहा छ– त्यो नमस्कार ३१ वर्षे बोनस जिन्दगीलाई हो । त्यो नमस्कार भ्रष्टाचार र अनियमितताविरुद्धको जनमत हो । र, साहसी पत्रकारका लागि कोटिकोटि पुरस्कार पनि । ठकुराठीको दाहिनेपट्टि निधारको लाम्चो खाल्टो अनि प्लास्टिकको आँखाको अन्तर्कथा बेग्लै छ । नेपालका लागि ‘वाटरगेट स्क्यान्डल’का बब उडवर्ड र कार्ल बर्नस्टिनजस्तै विशेष पत्रकार हुन् ठकुराठी । “मलाई चर्चित बनाइदिएको पत्रकारिताले नै हो,” उनी स्वीकार्छन्, “अझ बढी चर्चित भने गोली खाएपछि भएको हुँ ।”

उनी कति चर्चित छन् भने पोखरामा डाइलेन्टिन नामक औषधि किन्न जाँदा पसलेले ठम्याइहाले, ‘तपाईं पदम ठकुराठी हो ?’ पसलेले आफ्नो कुर्सी छाडिदिए र भने ‘बसौँ हजुर ।’ र, अर्को पसलबाट औषधि खोजेर ल्याइदिए । पैसासमेत लिन मानेनन् । डडेल्धुरा सदरमुकाम खलंगा (हाल: अमरगढी)मा जन्मेहुर्केका ठकुराठीका पिता भारतबाट कपडा ल्याएर डोटीको सिलगढीमा व्यापार गर्थे । अमरगढीको महेन्द्र हाई स्कुलबाट ०२१ मा एसएलसी गरेपछि उनी काठमाडौँ आए । त्यतिबेला दुईवटा कलेज थिए पब्लिक साइन्स र त्रिचन्द्र ।

साइन्सको फारम भर्न सेकेन्ड डिभिजन चाहिने । ठकुराठीको गान्धी डिभिजन मात्रै । विवश भएर आईए पढे त्रिचन्द्रमा । इन्जिनियर बनाउन चाहेका जेठा छोरालाई पिताले झपारे, ‘किन आटर््स पढेको ?’ बेलिविस्तार सुनेपछि उनी सोझै पुगे, आफ्ना मित्र शिक्षामन्त्री पुष्करनाथ उप्रेती (डडेलधुरा)कहाँ । मन्त्रीलाई पिताले ‘कन्भिन्स’ गरेछन्, ‘मास्टर नै नपाउने दुर्गम ठाउँमा कसरी ल्याउने सेकेन्ड डिभिजन ?’ मन्त्रीले तोक लगाइदिए– थर्ड डिभिजन भए पनि साइन्स पढाइदिनू । अनि, ठकुराठी आईए पढ्दापढ्दै साइन्समा भर्ती भए ।

त्यही बेला विद्यार्थी आन्दोलन सुरु भयो । पढ्न चाहने विद्यार्थीको हस्ताक्षर अभियानको बैठक आरके मिठाई पसल भोटाहिटीमा बस्यो र उनलाई स्वतन्त्र विद्यार्थी युनियनको नेता चुन्यो । पढाइमा भन्दा संगठनलाई समय दिनुपरेपछि उनलाई के थाहा भयो भने यस्तो चालले आईएस्सी पार लाग्दैन । सुटुक्क आईएको फारम भरे र न्य्हौखाका साथी जीवनलाल श्रेष्ठको घरमा बसेर जाँच दिए । उनी सेकेन्ड डिभिजनमा पास भए, साथी फेल । उनी आफू पास भएको खुसीभन्दा साथी फेल भएकामा दु:खी भए ।

उनको परिवार बसाइँ सरिसकेको थियो, कञ्चनपुर । उनले के थाहा पाए भने राजा महेन्द्र दिनभरि शुक्लाफाँटामा सिकार खेल्छन्, साँझ अस्थायी क्याम्पमा जनतालाई दर्शनभेट दिन्छन् । सात–आठ सय जनाको लाइन छिचोलेर राजालाई उनले फर्माए, ‘सरकार, म यहाँकै सेवक पदम ठकुराठी ।’ राजाले ‘म तिमीलाई भेट्छु’ भनेपछि उनी रोकिए । टिनको गद्दावाल सोफामा बसेर क्रोभेन चुरोट तानिरहेका राजाले सोधे, ‘ठकुराठी भनेको ठकुरी हो ?’

राजासँग त्यो पहिलो भेट थिएन । ०१४ मै ‘हाई स्कुल निगाह होस् सरकार’ सुनाइसकेका रहेछन् । राजाले स्कुल भवनका लागि रकम निकासा गराइदिएको स्मरण गराए । राजाले भने, ‘ तिमीहरूजस्तो युवकले पञ्चायत व्यवस्थालाई सहयोग गर्नुपर्‍यो ।’ उनले भनेछन्, ‘यस्तो भ्रष्ट व्यवस्थालाई कसरी समर्थन गर्ने ?’ उनले भ्रष्टाचारका फेहरिस्त दिए ।

राजाले तत्काल गृहमन्त्री शैलेन्द्रकुमार उपाध्यायलाई उर्दी गरे । मन्त्रीसित उनी फिल्डमा गए । केही दिनमै रेडियो नेपालमा समाचार आयो, भन्सारका खरिदार, सिँचाइ हाकिम र इन्स्पेक्टर बजगाईं बर्खास्त । २४ घन्टाभित्रै जिल्ला छाड्न आदेश । राजाले उनलाई भनेका थिए, ‘कहीँ भ्रष्टाचार देखे मलाई खबर गर । तुरुन्त कारबाही गर्छु ।’ राजाले सम्पर्क व्यक्ति पनि तोके, निजी सचिव मधुसूदन राजभण्डारी । राजासँग सर्त राखे उनले, ‘कांग्रेस र कम्युनिस्टका विद्यार्थी संगठनका पर्चा, पम्पलेट गोरखपुर र बनारसबाट छापिएर आउँछन्, हातले लेखेर कसरी प्रतिवाद गर्ने ? साथीहरूले माने समर्थन गरौँला ।’ उनले आफ्ना विश्वासपात्र विसन शाही र शिवहरि पौडेलसँग सरसल्लाह गरे । दरबारकै आडभरोसामा २५ असोज ०२७ मा राजाले दिएकै नाममा संगठन खोले, राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल ।

ठकुराठी संस्थापक अध्यक्ष भए । प्रजापति कोइराला, परमेश्वर शाक्य, खिलेन्द्रप्रताप केसी, दिलीप गिरीलगायत संस्थापक सदस्य । संगठनमा कमल थापा, दीपक बोहरा, निरञ्जन थापा आदिलाई भित्र्याए । “मैले नेपाल विद्यार्थी संगठन नाम राख्न चाहेको थिएँ, राजाले रुचाएनन्,” उनी सम्झन्छन्, “पहिलेको मण्डलमा राजनीतिक संस्कार र सुझबुझ थियो । पछि गुण्डागर्दी बढेर मण्डलेका रूपमा बदनाम भयो ।”
यति हुँदाहुँदै पनि राष्ट्रिय पञ्चायतमा लड्नका लागि ठकुराठीको योग्यता पुगेन । गाउँ, जिल्ला या जनवर्गीय संगठनमा काम गरेको या गाउँफर्कबाट अनुमोदन भएको हुनुपथ्र्यो । उनले क्षेत्रीय भ्रमणमा रहेका राजा वीरेन्द्रसँग ‘आफ्नो राजनीतिक करिअरमा पञ्चायत नै अवरोध भएको’ दुखेसो पोखे । राजाले संविधान नै संशोधन गरिदिए, विद्यार्थी मण्डलका पूर्वसभापतिका हकमा गाउँफर्कको अनुमोदन नचाहिने ।
ठकुराठी ०३४ मा कञ्चनपुर क्षेत्रबाट चुनाव उठे र ‘हेबी वेट’ लबरु राना थारुलाई पछारे । “राजा वीरेन्द्रबाट मलाई प्राप्त भएको एक मात्र कृपा त्यही हो,” उनी भन्छन्, “राजा महेन्द्रको अल्पायुमै निधन नभएको भए मेरो करिअर निकै अगाडि बढ्थ्यो ।”

त्यतिबेला ठकुराठी सबैभन्दा कान्छा राष्ट्रिय पञ्चायत सदस्य थिए भने जेठा मातृकाप्रसाद कोइराला । कान्छा २९ वर्षका अनि जेठा ७० वर्षका । अविवाहित रापंस पनि उनै मात्र थिए । उनले राष्ट्रिय पञ्चायतको ‘शून्य समय’मा पहिलोपल्ट राजाका भाइहरू ज्ञानेन्द्र र धीरेन्द्र शाहलाई संकेत गरी ‘भूमिगत गिरोह’ र ‘गैरसंवैधानिक शक्तिकेन्द्र’ शब्द प्रयोग गरे । “राजपरिवारका सदस्यलाई इसारा गर्दासमेत राजकाज ऐन लाग्थ्यो,” उनी सम्झन्छन्, “त्यतिबेला उदारवादी पञ्चको नेतृत्व थापाले गर्थे भने अनुदारवादी पञ्चको नेतृत्व अप्रत्यक्ष रूपमा अधिराजकुमार ज्ञानेन्द्रले ।”त्यसको बदला लिइयो, ०३९ को राष्ट्रिय पञ्चायतको चुनावमा । उनी लबरु रानाबाटै चुनाव हराइए । यतिखेर उनी अरू युवतीको चक्करबाट फुस्केर मैतीदेवीकी मनसा थापासँग ‘लभ अफेयर’मा थिए र २३ असार ०३९ मा घरजम गरे । अहिले छोरा सिर्जन डाक्टर छन् भने छोरी सृष्टि अमेरिकामा ।

भूमिगत गिरोहविरुद्ध धर्मयुद्धका लागि ठकुराठीलाई सातदिने अखबार साप्ताहिक मञ्चको प्रधान सम्पादकको प्रस्ताव आयो । सुरुमा अनकनाए, ‘मैले पत्रिका मात्र पढेको छु, पत्रिकामा काम गरेको छैन । पत्रकारिता पढेको छैन । कसरी सम्पादक बन्ने ?’ युवा पञ्च जनार्दन आचार्यलगायतले उकासे, ‘नेपालमा तपाईंजति चर्चित कोही छैन । तपाईंको विकल्प छैन ।’ उनी सरासर संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि उद्धवदेव भट्टको घर गए । भट्टले सल्लाह दिए, ‘साप्ताहिक पत्रिका समाचारभन्दा विचारका लागि पढ्ने हो । राम्रा लेखकहरूलाई ठाउँ दिने हो भने पाठकले पत्रिका किन्छन् ।’ निस्कने बेला भट्टका भान्जा गुड्डु (विजयकुमार पाण्डे)ले पछ्याए र भने, ‘मैले ओभरसियर पढेको छु । मलाई पत्रिकामा काम गर्ने इच्छा छ ।’ ठकुराठीले अन्तिम पृष्ठमा ‘ आदि–इत्यादि’ स्तम्भ दिए ससर्त– स्पेस दिने, दाम नदिने ।गोरखापत्रभन्दा सानो तर समाज र समीक्षाभन्दा ठूलो साइजमा हाइडलबर्ग मेसिनमा छापिन थाल्यो साप्ताहिक मञ्च । अन्तर्वार्ता ठकुराठीले लिन्थे, उज्ज्वलकुन्दन ज्यापूले कार्टुन बनाउँथे । धु्रवचन्द्र गौतम, नारायणबहादुर सिंह, ध्रुवहरि अधिकारी, खेमराज केशवशरण र नरेश अधिकारी स्तम्भकार । “मैले सोखले या जानेर पत्रकारिता गरेको होइन,” उनी स्मरण गर्छन्, “पत्रिका बन्द भए मेरै अयोग्यता देखिन्थ्यो ।”

एक वर्षको अन्तरालमा ठकुराठी २० पल्ट थुनिए । कहिले दुई दिन, कहिले पाँच दिन त कहिले सात दिन । प्रशासनले पत्रिका ननिकालोस् भनेर कहिले छापाखाना रहेको लगनमा बिजुली काटिदिन्थ्यो, कहिले आठै जना कम्पोजिटरलाई लगेर थुनिदिन्थ्यो । उनकै शब्दमा ‘माफियाको गोटी’ बनेको भूमिगत गिरोह मूर्ति चोरी र सुन तस्करीको समाचार आउन थालेपछि तिलमिलायो । “देशबाहिर जाँदा र आउँदा राजपरिवारको लगेज चेक गरिन्थेन,” उनी सुनाउँछन्, “राजपरिवारकै सदस्यहरू मन्दिरका मूर्ति, चरेस र सुनका कारोबार गर्थे । पशुपतिनाथबाहेक अन्य मन्दिरमा सक्कली मूर्ति बाँकी छैनन् ।”

राजाका भाइ धीरेन्द्रका एडीसी भरत गुरुङको उक्साहटमा प्रकाशक वैकुण्ठनारायण प्रधानले ठकुराठीलाई हटाए । उनको टिमै डेरा सर्‍यो, जनज्योति साप्ताहिकमा । हरिहर विरहीले लिएको योगी नरहरिनाथको अन्तर्वार्ता ‘छाता ओड्ने मान्छे आफैँले बोकेर हिँड्नुपर्छ’ ले बबाल मच्चियो । राजारानीलाई संकेत गरेको ठानी योगीलाई भैरहवा कटाइयो भने विरही समातिए । प्रकाशक शिवकुमार खड्का फरार भए ।

ठकुराठीले कुम्लो बिसाए, नेपाली आवाजमा । त्यो पत्रिका पनि भरत जंगमले हडपेपछि लागे साप्ताहिक विमर्शतिर बाटुलेघरमा । मुद्दा खेप्दाखेप्दा हत्तुहैरान भएका कानुनी सल्लाहकार वेदप्रकाश शिवाकोटीले उनलाई सोधे, ‘तपाईंको इच्छा प्रधान सम्पादक हुने हो कि पत्रिका निकालिरहने ?’ सम्पादक पक्राउ परे पनि पत्रिका निकालिरहने उद्देश्यले अतिथि सम्पादक मात्रै बसे ।एक दिन भरत गुरुङको फोन आयो उनको घरमा, ‘तपाईंसँग मालिक साह्रै रिसाइबक्सेको छ ।’ उनले भने, ‘तँ रिसाएको हो कि तेरो मालिक ? तेरो मालिक रिसाएको भए उसैले फोन गर्नुपर्ने हो ।’ भरतले प्रलोभन दिए, ‘ तपाईंले पत्रकारिता छोड्नुपर्‍यो, एक करोड रुपियाँसहित प्रतिष्ठित पद मिलाइदिन्छु ।’ करिब ३९ वर्षका ठकुराठीले भने, ‘मैले हानेको गोली ठीक ठाउँमा लागेको रहेछ । मलाई तेरो मालिकको पैसा र पिउन पद पनि चाहिँदैन, पदम ठकुराठी बिक्रीको माल होइन ।’

त्यसको एक महिनापछि धीरेन्द्र शाह, शरदचन्द्र शाह, भरत गुरुङ, जगत गौचन र कृष्णमान श्रेष्ठ लसएन्जलस ओलम्पिकमा गएका थिए । फुटबलभित्र हेरोइन हालेको अभियोगमा अमेरिकी अध्यागमनद्वारा शरदचन्द्र शाह र कृष्णमान जोशी समातिएको समाचार अमेरिकामै बस्ने नेपालीले फ्याक्सबाट पठाइदिए ठकुराठीलाई । त्यो विमर्शको पहिलो पृष्ठमै छापियो । पछि शरदचन्द्र छुटे, कृष्णमान करिब सात वर्ष त्यहीँको जेलमा सडे ।

त्यही शृंखलामा श्रीरंग पाठकको घर बानेश्वरमा २० भदौ ०४३ को बिहान साढे ४ बजेतिर सुतिरहेका बेला उनलाई ‘सार्प सुटर’ विकास गुरुङले गोली हाने । उनलाई गोली दागेको पेस्तोल पनि चानेचुने थिएन । राजा त्रिभुवन ज्युरिच जाँदा जर्मनीको पाउजर कम्पनीले दुई पेस्तोल उपहार दिएको रहेछ । राजाले एउटा आफूसँग राखे, अर्को नरशमशेरलाई बक्सिस दिए । नरशमशेरको त्यही पेस्तोल उनका छोरा प्रदीपशमशेरमार्फत गुरुङको हातमा पुर्‍याइएको रहेछ ।

बैंककको समितिभेज अस्पताल लगियो उनलाई । गोली टाउकोबाट आँखाबाहिर गएर अड्केको थियो । दाहिने आँखा निस्केको थियो भने हड्डी मस्तिष्कतिर गएको । प्रख्यात न्युरो सर्जन शिवाले पत्नी मनसालाई भनेका रहेछन्, ‘बिरामीलाई पक्षघात हुन सक्छ, मानसिक अवस्था खलबलिन सक्छ या नवजात शिशुजस्तो अवस्था हुन सक्छ ।’ तर, चमत्कार भयो, ३५औँ दिनमा ।उनको उपचारमा ३० लाख रुपियाँ खर्च भयो । आफ्नो खर्च जम्मा पाँच सय पाउन्ड मात्रै । बाँकी सात हजार डलर सरकारले दियो भने केही रकम पदम ठकुराठी उपचार कोषमा उठ्यो । “सूर्यबहादुर थापाले चलाएको पत्रिका ठानेर मारवाडी व्यापारीहरूले ४० लाखजति बुझाएका रहेछन् । थापाले जनार्दन आचार्यमार्फत तीन किस्ता गरेर २ लाख ५५ हजार मात्र दिए,” उनी सम्झिन्छन्, “म आठ हजार भाटमा प्लास्टिकको आँखा हालेर घर फर्किएँ ।”

राजा वीरेन्द्रलाई दिपायलमा भेटेपछि बल्ल त्यो घटनाको छानबिन भयो र दोषीहरूलाई कसुर अनुसार ६ महिनादेखि १४ वर्षसम्म कैद भयो । “०५१ मा मध्यावधि चुनावको घोषणा भइसकेपछि गिरिजाप्रसाद कोइरालाले त्यो सरकारवादी मुद्दा फिर्ता लिए,” ठकुराठीको आरोप छ, “भरत गुरुङको मात्रै एक अर्बको बिगो थियो । त्यसै कारण उनले गिरिजाप्रसादलाई आठ करोड रुपियाँ बुझाए ।”त्यो गोलीकाण्डपछि नियमित पत्रकारितामा फर्किन सकेनन् ठकुराठी । तर, पत्रपत्रिकामा लेख्ने काम भने छाडेनन् । नेपालीपत्रको सम्पादक भए छोटो समय । ०४६ मा बहुदलको पक्षमा लाग्दा १७ दिन थुनिए । “सञ्चारकर्मीका लागि सूचना नै सबैभन्दा ठूलो सत्ता हो,” उनी भन्छन्, “वास्तविक पत्रकार सदैव त्यही सत्ताको खोजीमा हुन्छ ।”

प्रधानमन्त्री शेरबहादुर देउवा उनका बालसखा रहेछन् । एकै जिल्लाका नातेदार उनीहरू दुई वर्ष जेठा–कान्छा छन् । “देउवा गुनिला मान्छे हुन् । ०३५ को दसैँमा मैले डिल्लीबजारमा चार सय रुपियाँको पाइन्ट किनिदिएको र थप दुई सय रुपियाँ दिएको सम्झेका रहेछन्,” उनी भन्छन्, “गृहमन्त्री र प्रधानमन्त्री भएपछि हाम्रो दारु पार्टी पनि खुब जम्यो । सोल्टीको स्न्याक्स र ब्लू लेबल खुब पिइयो । अहिले न दोस्ती छ, न दुस्मनी ।” ज्ञानेन्द्र शाह राजा भएपछि उनलाई बोलावट भयो अञ्चलाधीशका लागि । तर, उनले कुनै रुचि देखाएनन् । “गैरसंवैधानिक पद राजाको लहडमा पुनर्जन्म गराइएको थियो,” उनी भन्छन्, “मेरो नोट अफ डिसेन्ट सदैव त्यही प्रवृत्तिविरुद्ध हो ।”

पत्रकारिता छाडेपछि राजनीतिमै फर्किए ठकुराठी । ०५६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट महेन्द्रनगरमा चुनाव लडे र तेस्रो स्थान पाए । जनशक्ति पार्टी हुँदै माओवादीसँग सहकार्य गर्ने भनी देशभक्त गणतान्त्रिक एकता अभियानमा पनि सामेल भए । अभियानका इन्चार्ज तोकिएका बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सय दिनमा बल्ल बधाई दिन पाएपछि त्यो भ्रम पनि टुट्यो । केशरबहादुर विष्टको प्रजातान्त्रिक नेपाल, राप्रपा नेपाल हुँदै अहिले प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी)का केन्द्रीय सदस्य छन् । आउने चुनाव लड्न उनलाई दबाब छ । तर, भनिरहेका छन्, ‘एक करोड दिने भए मात्र लड्छु ।’ उनलाई थाहा छ, नयाँ दलले उम्मेदवार पनि पाउँदैन । अझ मतपत्रको पुछारमा चारकुनेभित्रको हलो खोज्दै कसले भोट हाल्ने ?


तस्बिर : रवि मानन्धर

Page 46
डायरी

राजा त्रिभुवनकी गुमनाम रानी

- सीताराम बराल
राजा त्रिभुवन, रानी सरला (पछिल्तिर), बडामहारानीद्वय कान्ति–ईश्वरी र छोरी (अघिल्तिर बीचमा)

राजा वीरेन्द्रको वंशनाश हुने गरी १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डसम्बन्धी उच्चस्तरीय समितिको प्रतिवेदन ३२ जेठ ०५८ मा सार्वजनिक भयो । तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेको प्रतिवेदनमा हत्याकाण्डस्थल त्रिभुवन सदनमा आयोजित रात्रिभोजमा निम्त्याइएका २४ जना शाही नातेदारहरूको नाम पनि समावेश थियो । निम्तालुहरूको सूचीमा १८ नम्बरमा एक नाम थियो– सानु रानी साहेब सरलादेवी शाह ।

मैले सुने अनुसार नानी (सुसारे)का रूपमा नारायणहिटी राजदरबार प्रवेश गरेकी एक किशोरी, जो नेवार समुदायकी थिइन्, लाई राजा त्रिभुवनले यति मन पराए कि, तिनलाई उनले पत्नीका रूपमा स्वीकारे र रानीको दर्जासमेत दिए । ती रानी अझै जीवित छन् तर नारायणहिटीभित्रको बम्बई चोक दरबारमा झन्डै बन्दीजस्तो गुमनाम जीवन बिताइरहेकी छन् भन्ने पनि सुनेका थिएँ ।

‘सानु रानी साहेब सरलादेवी शाह’ खासमा राजा त्रिभुवनकी तिनै कान्छी रानी थिइन् । शाही हैसियतसहित उनको नाम पहिलोपटक दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदनमार्फत सार्वजनिक भएको थियो । दरबार हत्याकाण्डपछि सरलाले पहिलोपटक रानीको रूपमा सार्वजनिक परिचय त पाइन् । तर, नारायणहिटीभित्रै नियन्त्रित जीवन बिताउनुपर्ने, कतै जानुपर्‍यो भने दरबारको अनुमति लिनुपर्ने, अनुमति पनि मन्दिर वा नातेदारकहाँ जान मात्र पाउने नियतिचाहिँ यथावत् रह्यो ।

म दरबार मामिला सम्बन्धमा रिपोर्टिङ गर्थें । तर, रानी सरलाको थप अवस्थाबारे स्रोतहरूलाई धेरै जानकारी थिएन । हात्तीसार नजिकै जय नेपाल चित्रघर आडैबाट नारायणहिटी राजदरबारबाट ठीक पछिल्तिर झिंगटीको छानो मात्र देखिने अग्लो भवनमा सरला बस्छिन् भन्नेबाहेक थप जानकारी मैले पाउन सकेको थिइनँ । तिनै गुमनाम रानी सरला, पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने बेला दोस्रोपटक चर्चाको केन्द्रमा रहिन् । २९ जेठ ०६५ मा नागार्जुन प्रस्थान गर्नुअघि पूर्वराजाले नारायणहिटी परिसरभित्रका महेन्द्र मञ्जिल र बम्बई चोक दरबार क्रमश: वृद्ध आमा रत्न र हजुरआमा सरलाका लागि मृत्युपर्यन्त बस्न पाउने प्रबन्ध मिलाइदिन सरकारसँग सर्त राखेका थिए । त्यही सन्दर्भमा रानी सरला दोस्रोपटक चर्चामा आइन् ।

पूर्वराजाले छाडेपछि नारायणहिटीको प्रशासनिक भवनमा परराष्ट्र मन्त्रालय सर्ने भयो । परराष्ट्र मामिलासम्बन्धी पनि रिपोर्टिङ गर्ने भएकाले म बारम्बार नारायणहिटी जान थालेँ । परराष्ट्र मन्त्रालय बस्ने तम्तयारी गरिरहेको नारायणहिटीको प्रशासनिक भवनसम्म त पश्चिमढोकाबाट सहजै जान सकिन्थ्यो । तर, नारायणहिटी राजदरबारको मूल खण्डमा सैनिक पहरा यथावत् थियो । त्यहाँभित्र पस्न सक्ने स्थिति थिएन ।

.....

१५ माघ ०६५ । नारायणहिटी राजदरबारतिरको माहोल त्यस दिन फरक देखिन्थ्यो । राजदरबारको उत्तरतिरको खण्डमा निकै ठूलो कल्याङमल्याङ थियो । माइकबाट भाषणको आवाज आइरहेको थियो । पहरामा रहेका राइफलधारी सैनिकले पनि राजदरबार परिसरभित्र जान कसैलाई रोकेका थिएनन् । मंगल सदन आडैबाट मानिसहरू धमाधम नारायणहिटी राजदरबारतिर गइरहेका थिए ।

नारायणहिटीमा कार्यरत माओवादी समर्थित कर्मचारी संगठनको सम्मेलन हुँदै रहेछ । त्यहाँ सामान्य प्रशासनमन्त्री पम्फा भूसाल प्रमुख अतिथिका रूपमा आउने कार्यक्रम रहेछ । नारायणहिटी राजदरबार प्रवेश खुकुलो हुनुको कारण यही रहेछ । मैले मौकामा चौका हानेँ, आफू कर्मचारी भएको बताउँदै नारायणहिटी छिरेँ । चिनजानका केही कर्मचारी कार्यक्रमस्थलमा भेटिए । एक जनासँग बम्बई चोक दरबार र रानी सरलाको प्रसंग उप्काएँ । बम्बई चोक दरबारमा काम गर्ने एक कर्मचारी पनि त्यहाँ रहेको बताउँदै भेट गराइदिने वचन दिए । एकैछिनमा एक अधबैंसे व्यक्तिका साथ उनी आइपुगे । “सबै कुरा उहाँलाई बताइदिएको छु, तपाईंले खोजेको सहयोग गरिदिनुहुन्छ,” परिचय गराउँदै भने, “तपाईंले पनि बम्बई चोकका कर्मचारीहरूलाई आवश्यक सहयोग गरिदिनु होला ।” तिनको नाम दिलीप महर्जन रहेछ, बम्बई चोक दरबारमा खरिदार दर्जाका कर्मचारी ।

 
काठमाडौ मोडल अस्पताल प्राङ्गणमा रानी सरला


....
पूर्वराजाले नारायणहिटी छोड्न राखेको सर्त अनुसार सरकारले रानी सरलालाई नारायणहिटी परिसरमा रहेको बम्बई चोक दरबारमा आजीवन बसोवासको व्यवस्था मिलाएको थियो । झन्डै सात सय कर्मचारी रहेको राजप्रासाद सेवा अन्तर्गत बम्बई चोक दरबारमा रानी सरलाको सेवामा नौ कर्मचारी खटिएका थिए । तर, दरबारको कर्मचारीतन्त्रका अगुवाहरूले बम्बई चोक दरबारमा कार्यरत नौ जनाको नाम सरकारलाई उपलब्ध गराएनछन् । परिणाम, सरकारी कर्मचारीसरह उनीहरूले निजामती सेवामा प्रवेश नपाउने भए, रानीको मृत्युपछि बिनापेन्सन उनीहरूले दरबार छाड्नुपर्ने भयो । दिलीप, तिनै अभागी नौ कर्मचारीमध्ये एक थिए । आफूहरूलाई परेको मर्काबारे थप समाचार लेखिदिए सरकारी कर्मचारीको मान्यता प्राप्त गर्न सहज हुने आशा थियो उनको । परिचय आदानप्रदान हुनासाथ दिलीपले मलाई आफ्नो पछिपछि आउन संकेत गरे । मैले दिलीपलाई पछ्याएँ ।

हाल राहदानी विभाग र नारायणहिटी संग्रहालयको बीचबाट एउटा फराकिलो सडक उत्तरतर्फ लाग्छ । दिलीप त्यही सडकबाट अघि बढे । तीन सय मिटर पर पुगेपछि सडक जंगल हुँदै पूर्वतर्फ मोडियो । जंगलको बीचमा पुराना टहरा थिए । झन्डै दुई सय मिटर जंगल छिचोलेपछि सडक मन्दिर रहेको घुम्तीमा ठोक्कियो । त्यहाँ पुगेपछि दिलीप बोले, “यो गणेशको मन्दिर हो । पहिले त मुमाबडामहारानी रत्न खासै यो मन्दिरमा आउनुहुन्थेन, ज्ञानेन्द्र सरकारले नारायणहिटी छाडेपछि पूजाका लागि यता आउन थाल्नुभएको छ ।”

बम्बई चोक दरबार होस् वा त्यसको ठीक अघिल्तिर रहेको महेन्द्र मञ्जिल, त्यहाँ पुग्ने आधिकारिक बाटो जय नेपाल चित्रघरअघिल्तिर रहेको नारायणहिटीको पूर्वी द्वार हो । पूर्वी द्वारमा अहिले राष्ट्रपति/उपराष्ट्रपति/प्रधानमन्त्री आदिको ‘क्लोज सेक्युरिटी’ हेर्ने प्रधानसेनापति मातहतको ‘विशेष सुरक्षा बल’को मुख्यालय छ । तर, यो वैध मार्गबाट मलाई बम्बई चोक दरबार पुर्‍याउन दिलीपलाई किन असम्भव थियो भने विशेष सुरक्षा बलले आफ्नो गेटबाट पूर्वराजपरिवारका सदस्य र राजप्रासाद सेवाका कर्मचारीबाहेक अरू कसैलाई भित्र छिर्न दिँदैनथ्यो । त्यसैले दिलीपले त्यो निर्जन चोरबाटो प्रयोग गरेका थिए ।
गणेश मन्दिर पुगेपछि बाटो फाट्यो । चलनचल्तीको एउटा बाटो पूर्वतर्फ सोझियो भने बेचल्तीको अर्काे बाटो पूर्व–दक्षिणतर्फ लाग्थ्यो र नारायणहिटीको त्रिशूल सदन र आडैमा रहेको महेन्द्र मञ्जिलको ठीक पछिल्तिर पुग्थ्यो । बाटोको बायाँतर्फ झाडीले ढाकिएको भग्नावशेषउन्मुख एउटा पुरानो दरबार थियो । यो त्यही दरबार रहेछ, जहाँ श्री ३ रणोद्दीप सिंह आफ्नै भतिजा वीरशमशेरलगायतबाट मारिएका थिए, विसं १९४२ कात्तिकमा (हेर्नूस् : इतिहास बुझाउने स्मारक, नेपाल, २८ वैशाख ०७१) । रानी सरलाको निवास बम्बई चोक दरबार रणोद्दीप मारिएको त्यही दरबारको अग्रभाग रहेछ ।

....

विसं १९०३ मा कोतपर्वपछि बस्नेत खलकबाट राणाहरूले हत्याएको नारायणहिटीको बम्बई चोक दरबारको अघिल्लो खण्डमा तीन तला रहेछन् । भुइँतलाको एउटा भागमा नारायणहिटीका पुराना फर्निचर राखिएको र अर्काे भागमा कोते र डोले दर्जाका दुई पुरुष कर्मचारी बस्दा रहेछन् । सात कोठे दोस्रो तल्ला रानी सरलाको निवास रहेछ । तेस्रो माथिल्लो तलामा उनका सहयोगीका रूपमा रहेका ६ जना महिला कर्मचारी (नानी, बज्यै) बस्दा रहेछन् ।

दिलीपले २५ वर्षीय युवक मानबहादुर तामाङसँग परिचय गराए । तामाङ बम्बई चोक दरबारमा डोले रहेछन् । उनको जिम्मेवारी आवश्यक सामान किनमेल गर्ने, सरसफाइ र खेतीपाती गर्ने रहेछ । अर्का पुरुष कर्मचारी रहेछन्, कोते जंगबहादुर गुरुङ, ४० । किनमेल गरिएका सामान बोकेर ल्याउने र भान्साका भाँडाकुँडा सफाइ गर्ने काम कोतेले गर्नुपर्ने रहेछ । बडामहारानीद्वय कान्ति र ईश्वरीबाहेक त्रिभुवनका थप आधा दर्जन पत्नी थिए तर सार्वजनिक नगरिएका । उनीहरू सबै बम्बई चोक दरबारका विभिन्न लङमा बस्थे । उनीहरूबारे अरूले जानकारी नपाऊन् भनेर कडा पहरामा राखिँदो रहेछ र मूलढोकामा भोटेताल्चा ठोकिँदो रहेछ । अरुको त पहिल्यै निधन भइसकेको थियो, रानी सरला गणतन्त्र स्थापनाअघिसम्म त्यस्तै पहरामा बस्न विवश थिइन् ।

गणतन्त्रपछि भने सरला अलिक फुक्काफाल भएकी थिइन् । उमेर ९० वर्ष पुगिसकेको थियो, त्यो उमेरमा पनि किनमेलका लागि कहिले कालीमाटी पुग्थिन्, कहिले बागबजार । रानीका सहयोगीहरू मलाई उनका सबै गतिविधिका सूचना दिन्थे । एक दिन दिलीपले फोन गरे । भने, “उपचारका लागि रानी साहेबलाई आज मोडल अस्पताल (भृकुटीमण्डप) ल्याउँदैछौँ । उहाँले थाहा नपाउने गरी फोटो खिच्न आउनुभए हुन्छ ।”

रानी सरला मारुती सुजुकी भ्यान चढेर अस्पताल आइपुगिन् । ड्राइभर आडैको सिटमा बसेकी थिइन् उनी । भ्यानको एकातिरको ढोकाबाट दिलीप निस्के, अर्काे ढोकाबाट अर्की एक महिला । उनी द्वारे राधा तामाङ, ६०, रहिछन् । उनलाई रानी सरलाको सम्पूर्ण खटनपटनको जिम्मेवारी रहेछ । सरला दिलीप र राधाको सहयोगमा ओर्लिन् ।

कालो बुट्टेसारी, त्यस्तै रंगको स्वीटरमाथि हरियो पछ्यौरी ओढेकी रानी दिलीप र राधाको सहारामा चिकित्सक कक्षतर्फ अघि बढिन् । त्यो कक्षबाहिर रहेको बेन्चमा रानीले आममानिससरह नै डाक्टरको प्रतीक्षा गरिन् । क्यामेराको क्षमता अनुसार मैले उनका सबै क्षणका तस्बिर खिचेँ । उनलाई अस्पताल छाडेर भ्यान निर्मल निवास फर्किसकेको थियो । परीक्षण सकिएपछि उनी गाडीको प्रतीक्षामा अस्पतालबाहिरको बेन्चमा बसिन् ।

मैले उनीसँग बसेर तस्बिर लिन चाहेँ । फोटो खिच्न थालेपछि दुई घन्टाअघिदेखि नै उनको ध्यान मतर्फ केन्द्रित भइरहेको थियो तर मौन थिइन् । जब मैले उनीसँगै फोटो लिएँ, उनले आफूलाई थाम्न सकिनन् । रिसाउँदै सोधिन्, “तपाईं को हो ?”
मैले उत्तर दिएँ, “म पनि उपचारका लागि अस्पताल आएको ।”
मेरो जवाफपछि आफ्नो परिचय खुलेको छैन भन्नेमा विश्वस्त भइन् क्यार । चुप लागिन् ।

....
मैले बम्बई चोक जाने चोरबाटो थाहा पाइसकेको थिएँ । अब म बरोबर त्यहाँ जान थालेँ । यो क्रम बढेपछि बाँकी कर्मचारीहरूसँग पनि चिनजान भयो । सरकारी कर्मचारीको दर्जा पाउन नसक्दा भविष्यप्रति चिन्तित उनीहरू म त्यहाँ पुग्दा आफ्ना लागि मन्त्री/प्रधानमन्त्रीसँग हारगुहार गरिदिन आग्रह गर्थे । हुन पनि घरबार छाडेर दरबार छिरेका उनीहरूको टेक्ने/समाउने कुनै हाँगो थिएन । कति बालविधवा भएपछि दरबार छिरेका थिए, कति बिहे नगर्ने बाचाका साथ ।

तिनीहरू असाध्यै अवोध र सुधा थिए । बज्यै शुभद्रा पौडेल, ६०, र प्रभावती रेग्मी, ८०, प्रत्येक कुराकानीमा हात जोड्थे । नानी कमला खड्का, ३५, अनिश्चित भविष्य सम्झेर आँसु झार्थिन् । द्वारे कमला घले आफूहरूको नाम हाकिमहरूले सरकारलाई नदिएकामा तिनलाई गाली गर्थिन् । गीता घले, २२, बिहे नगर्ने निर्णयसहित दरबारमा जागिर खान पुगेकामा आफँैलाई धिक्कार्थिन् । उनीहरूको अनिश्चित भविष्यको कल्पनाले म पनि भावुक बन्थेँ ।

....
बाहिर भेट भए पनि बम्बई चोक दरबारमै चाहिँ रानी सरलासँग भेट भएको थिएन । ‘रानी बस्ने कोठा कस्तो होला, त्यहाँ के के होलान् †’ यी कुरा जान्ने तीव्र इच्छा थियो । एक दिन कमलाले भनिन्, “सानु रानी साहेब साह्रै गल्नुभएको छ । पहिलेजस्तो अचेल मान्छे चिन्नुहुन्न । चिनिहाले निर्मल निवासबाट आएको हुँ भनिदिनूस्, त्यसो भए अप्ठ्यारो पर्दैन ।” उनैले मलाई रानीको कोठामा पुर्‍याइन् ।
उनी साधारण बिछ्यौनामा सुतिरहेकी थिइन् । हेरचाहमा नानी गीता घले थिइन् । सरला अचेत मानिसझैँ एकसुरले बर्बराइरहेकी थिइन् । के भनेकी हुन्, बुझ्न सकिनँ । रानी सरलाको निजी कोठा मेरो कल्पनाको विपरीत थियो । उनको पलङ पुरानो साधारण खालको थियो, रंग पनि खुइलिएको । गलैँचा पनि धेरै पुरानो थियो । झिरझिर गर्दै टेलिभिजन चलिरहेको थियो । कोठामा एकाध र्‍याक, टेबुल थिए, टेबुलमाथि राखिएको पंखा पनि पुरानै थियो । कोठामा शाहीपन झल्कने कुनै वस्तु थिएनन् ।

बायाँ भित्तामा राजा त्रिभुवनको एउटा ठूलो श्यामश्वेत तस्बिर थियो । तस्बिर निकै हिफाजत गरेर राखेजस्तो देखिन्थ्यो । हातले नभेटिने उचाइमा झुन्डिरहेको थियो, त्यो । तस्बिरमा सयपत्रीको सुकिसकेको माला थियो । अर्काे एउटा तस्बिर अलिक परको टेबुलमा थियो । पूर्वमुमाबडामहारानी रत्नको जन्म दिवसका दिन ४ भदौ ०५५ मा खिचिएको राजा वीरेन्द्रसहित राजपरिवारका सबै सदस्य थिए, त्यसमा । तस्बिरको पुछारमा रानी सरलासहित राजपरिवारका सबैको हस्ताक्षर थियो ।

थप दुई तस्बिर पलङको सिरानी आडैमा रहेको र्‍याकमा थिए । एउटामा राजा त्रिभुवन बडामहारानीहरू कान्ति–ईश्वरी, एक छोरी र किशोर उमेरकी रानी सरला पनि छिन् । अर्काेमा चाहिँ त्रिभुवन र सरला मात्र छन् । लजाएजस्तो देखिने किशोरी सरला कुर्सीमा छन्, गम्भीर मुद्रामा देखिएका प्रौढ त्रिभुवन उनको पछिल्तिर उभिएका छन् । यी दुई तस्बिरले बताउँथे कि, त्रिभुवन रानी सरलालाई औधि माया गर्थे । अनि, सरलाले पनि सौताका रूपमा रहेका दुई बडामहारानीहरूको हृदय राम्रैसँग जितेकी थिइन् । यस्तो नहुँदो हो त, दुई बडामहारानीका साथ बसेर सरलाले तस्बिर खिच्ने मौका पाउने थिइनन् । यी दुई तस्बिर देख्नासाथ मैले एरिका एन्ड द किङका केही पंक्ति सम्झेँ, जसमा उनले राजा त्रिभुवन, बडामहारानीद्वय र रानी सरलाको त्रिपक्षीय प्रेमबारे उल्लेख गरेकी छन् (हेर्नूस् : एरिकाको नजरमा सरला) । एरिका तिनै बेलायती फिजियोथेरापिस्ट हुन्, जसलाई त्रिभुवनकी जेठी रानी कान्तिको उपचारका लागि भारतको सिमलाबाट काठमाडौँ ल्याइएको थियो ।

राजा त्रिभुवन ००७ कात्तिकमा नयाँ दिल्ली निर्वासनमा जाँदा दुई बडामहारानीका साथ सरलासमेत साथै रहेबाट पनि उनी त्रिभुवनकी कति प्रिय थिइन् भन्ने प्रस्ट हुन्छ । अन्तिम उपचारका लागि त्रिभुवनलाई ०११ मा ज्युरिच लगिँदा पनि उनी सँगै थिइन्, कान्छी बडामहारानी ईश्वरीका साथमा । त्रिभुवन–सरलाबीचको अथाह प्रेम झल्कने ती दुई तस्बिरलाई मैले आफ्नो क्यामरामा कैद गरेँ । त्यसैबेला भित्तातर्फ कोल्टो परेर नबुझिने गरी बर्बराइरहेकी रानीले कोल्टो फेरिन्, मलाई देखिन् ।

“यो नयाँ मान्छे को हो ?” उनी चिच्याइन् ।
“रानी साहेबलाई हेर्न निर्मल निवासबाट आउनुभएको रे !” कमलाको यो जवाफ उनले पत्याइन् अनि नम्र पनि भइन् ।त्यसपछि आफ्नो चिन्ता नाति ज्ञानेन्द्रसमक्ष पुर्‍याइदिन आग्रह गरिन् । भनिन्, “यिनीहरू सबै हिँड्छु भन्छन्, हिँडेपछि म के गरी बस्ने हो, के खाने हो † ज्ञानेन्द्र सरकारलाई यिनीहरूको केही बन्दोबस्त गरिदिन भनिदिनु पर्‍यो । नत्र मेरो बिजोग हुने भो, म मरेपछि यिनीहरूको पनि बिजोग हुने भो !”


पूर्वमुमाबडामहारानी रत्नको जन्मोत्सवमा रानी सरला (पछाडिको लहरमा बायााबाट दोस्रो)सहित राजपरिवार र उपस्थित शाही परिवारका सदस्यहरूको हस्ताक्षर, ४ भदौ ०५५
....

सुन्धारास्थित काठमाडौँ मलको उपल्लो तल्लाको रेस्टुराँमा गफिँदै थिएँ म, ९ फागुन ०६६ को साँझ । साथमा मेरा हितैषी धनगढीका पत्रकार प्रकाशविक्रम शाह थिए । माओवादी सेनाको कैलालीस्थित ७ नम्बर डिभिजन कमान्डर महेन्द्रबहादुर शाही (हाल  : ऊर्जामन्त्री) पनि हाम्रा साथमा थिए । कफी भर्खर हाम्रो टेबलमा आइपुगेको थियो, दिलीपले फोन गरे । मधुरो स्वरमा दिलीप बोले, “सर, सानु रानीसाहेब भर्खरै स्वर्गे होइबक्स्यो । हामी पशुपति आर्यघाटमा छौँ । फुर्सद छ भने आउनुभए हुन्छ ।”

रोगले च्यापेपछि ९१ वर्षीया सरलालाई अघिल्लो दिन त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल पुर्‍याइएको रहेछ । डाक्टरहरूले उनको उपचार असम्भव बताएछन् । त्यसपछि सीधै पशुपतिस्थित घाटे वैद्यकहाँ पुर्‍याइएछ । घाटे वैद्यले ९ फागुन अपराह्न साढे ४ बजे रानी सरलाको मृत्यु भएको घोषणा गरेछन् । घाटे वैद्यको घोषणालगत्तै दिलीपले मलाई फोन गरेका थिए । त्यो फोनपछि पिइरहेको कफी छाडेर म पशुपति आर्यघाटतर्फ दौडेँ ।

पशुपतिनाथ मन्दिरको ठीक पछिल्तिरको चितामा रानी सरलाको शव राखिएको थियो । उनको अन्तिम बिदाइको तयारी हुँदै थियो । पूर्वराजपरिवारका कुनै सदस्य त्यहाँ थिएनन् । सरलाका माइतीतर्फका केही नातेदार भने उपस्थित थिए । मैले आफ्नो नजर उनीहरूको आँखातिर दौडाएँ । शोकाकूल थिएनन् त म भन्दिनँ तर उनीहरू कसैका आँखामा एक थोपा आँसु थिएनन् । अर्काे छेउको दृश्यले चाहिँ मलाई भावुक बनायो । जहाँ बज्यैहरू प्रभावती र शुभद्रा, द्वारे राधा, नानीद्वय कमला र गीता हिक्क हिक्क गरेर रोइरहेका थिए । अधिक रुवाइले उनीहरूको अनुहार सुन्निएको देखिन्थ्यो । दिलीप र मानबहादुरले पनि आफूलाई थाम्न सकिरहेका थिएनन् । ब्राह्मणहरूले मृत शरीरमाथि दागबत्ती दिनुअघि फूलमाला चढाउने क्रममा बज्यै र नानीहरूले रानीको मुहारमा चुम्बन गरे, रानीको देह जल्न थाल्यो । यता रानी जलिरहेकी थिइन्, उनलाई अन्तिम समयमम्म साथ दिएका ती सुधा प्राणीहरूले त्यो दृश्य हेरिरहन सकेनन् । भक्कानो छाड्दै जलिरहेकी रानीलाई छाडेर उनीहरू आर्यघाटबाट निस्किए ।

 

Page 50
दसैँ साहित्य

जनाना जेलमा

- वसन्त थापा

जाडो महिनाको एउटा कुनै औसत बिहान थियो, त्यो । मंसिर निक्लँदो वा पुस लाग्दो हुनुपर्छ । सदाझैँ म लुगा लगाएर तयार भएँ कलेज जानलाई । सधैँ बिहान लाग्थ्यो, हाम्रो कलेज । कापी–किताब बोकिरहन पर्दैन, कलेज जाने भएपछि भन्ने मान्यता थियो । लेक्चररको टिपोट राख्नलाई एउटा पातलो कापी पट्याएर पाइन्टको पछिल्लो खल्तीमा घुसार्‍यो, बस् चलिदियो । स्कुलमा रहुन्जेल कहिले कलेजको प्रांगण टेकिएला र दसथरीका किताब, नोटबुक, इन्स्ट्रुमेन्ट बक्स आदि बोक्ने झन्झटबाट पार पाइएला भन्ने हुन्थ्यो । कलेज जाने दाइहरु फुक्का हात हल्लाउँदै हिँडेका देखेर त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । कसले घुसाइदिएको थियो, यस्तो वाहियात विचार हाम्रो मगजमा कुन्नि ! हामी पनि नजानीकनै त्यही देखासिकी गर्ने भएका थियौँ ।

तर, त्यस बिहान मैले हातमा कुनै मोटो नोटकापी र एउटा किताब बोकेको थिएँ । के प्रयोजनले हो, म सम्झन्नँ । पिताजीले सोभियत संघको झन्डै दुईवर्षे लामो बसाइपछि कोसेली ल्याइदिएको र नयाँ स्वेटर पनि लगाएको थिएँ, मन नलागी–नलागी । अगाडि माथिदेखि तलसम्मै ह्वाङ्ग खुल्ने ‘भी’ गलाको त्यो स्वेटर टाँक लगाउनुपर्ने खालको थियो । त्यो डिजाइन मैले इच्छा गरेजस्तो थिएन र मलाई त्यसको अँध्यारो नीलो रङ पनि मन परेको थिएन । जाडो थियो र केही न्यानो त लगाउनैपर्ने थियो । त्यसैले मैले त्यो स्वेटर भिरेको थिएँ ।

म सुत्ने भुइँतलाको कोठा घरपछिल्तिरको आँगनमा खुल्थ्यो । यसै पनि आँगन भन्नु नै त्यही थियो । सडक थियो, घर अघिल्तिर त । दाहिनेपट्टि छिमेकको घर टाँसिएको थियो, हाम्रो घरसित । घरको बायाँपट्टि र पछिल्तिर भने खुला थियो । हिउँदको दिन, कुनै बालीबिरुवा थिएन पछिल्तिरको बारीमा । त्यसैले परैसम्म देख्न सकिन्थ्यो । घोचा र मुड्काले छुट्याएको हाम्रो घडेरीको सिमाना पर्तिर म देख्छु, दुई जना मानिस १२–१५ हातको फरकमा उभिएर मतर्फ अस्वाभाविक तवरले एकटक हेरिरहेछन् । म केही अप्ठ्यारो महसुस गर्दै बाहिर जानलाई घरअघिल्तिर निस्कन्छु, जहाँ मलाई पर्खेर अरु दुई जना लाठे उभिइरहेका थिए । मलाई छेकारो मारेर समात्न सादा पोसाकका पुलिसहरु आएका प्रस्ट भयो । उनीहरुले भने, ‘हामीसित हिँड्नोस् ।’ म चुपचाप गएर बसेँ, सडकमा रहेको रसियन जिपको पछिल्लो सिटमा ।

हाम्रो गन्तव्य टाढा थिएन । हाम्रो घर रहेको लक्ष्मी चोकबाट मुस्किलले दुई किलोमिटरको दूरीमा उत्तरतर्फ फुस्रे जाने बाटामा पर्ने इन्डियन कोलोनीसित जोडिएको थियो, धरानको एसपी अफिस । सादा पोसाकका पुलिसहरुले आफ्ना हाकिम अघिल्तिर खडा गरे मलाई । एसपी त थिएन ऊ, इन्स्पेक्टर थियो, जसले मेरो नाम सोध्यो । र, ‘उता बस्दै गर्नूस्’ भनेर खुला चउरतर्फ देखायो । त्यस बिहान उनीहरुको जालमा पर्ने सायद पहिलो माछो थिएँ म । जालहारीहरु छ्यापछ्याप्ती गएका रहेछन् बजार र कलेजतिर । धेरै बेर मैले एक्लै बसिरहनुपरेन । एक–दुई, एक–दुई गर्दै मजस्ता माछाहरु त्यहाँ जम्मा पारियो । कलेजको समय बित्दा–नबित्दा हाम्रा समूहका धेरै जना विद्यार्थी साथीहरु त्यहाँ ल्याइसकिएका थिए । हामी चउरमा घाम खाएर बसेका छौँ र एक अर्कासित केही कुरा गर्न निष्फल प्रयास गरिरहेका छौँ । अनिश्चय र डरको मिश्रणले गर्दा कुनै वार्ता सिलेसिलेवार चल्न सक्दैन । तर, गिरफ्तारीमा परेर आउनेहरुको जमात बढ्दै जाँदा ‘पानी खान प‍र्‍यो’, ‘हामीलाई कतिबेर यहाँ राख्ने हो  ?’ भन्न सक्ने धक फुक्न थालेको थियो । ‘हामी आदेशबमोजिम गर्ने हो’, ‘तपाईंहरुलाई यहीँ पर्खाएर राख्ने आदेश छ’, ‘शान्तपूर्वक बसिदिनुहोला’ भन्ने रेडिमेड जवाफ आउँथ्यो भित्र–बाहिर गर्ने प्रहरी अधिकृतहरुद्वारा । सायद समातिनेहरुको कोरम पुगेको थिएन, उनीहरुको हिसाबले । को–को आउने हुन् भनेर अनुमान गर्दै बस्यौँ, चउरमा सेकिएर । बिहानको प्यारो घाम दिन छिप्पिदै जाँदा जीउ पोल्ने भइसकेको थियो ।

पानीबाहेक केही खान मिलेको थिएन, घाम मध्यआकाशबाट कोल्टे लागिसक्दा पनि । कलेटी परेका ओठ र सुकेका आन्द्रा लिएर म हिजो कलेजमा भएका घटना सम्झिरहेको थिएँ, जुन घटनाको परिणामस्वरुप आज हामीले दसैँमा बेच्न ल्याइएका बोकाच्याङ्ग्रा जसरी चउरमा ढक्रिनु परिरहेको थियो ।अल्लारे उमेरको उन्माद र क्रान्तिको भ्रान्तिले गर्दा हामीबाट ज्यादै जघन्य काम हुन गएको थियो अघिल्लो दिन, जसको जति निन्दा गरे पनि थोरै हुन्छ । धरान महेन्द्र कलेजका प्रिन्सिपल महाप्रसाद रिजालमाथि उनकै कार्यकक्षमा ‘खरानी’ समूहका एक हुल क्रुद्ध विद्यार्थीहरुद्वारा हात हालिएको थियो, जुन हुलको मुखियामध्ये म पनि एक थिएँ ।

आक्रोशको पराकाष्ठामा पुगेर ठूलो होहल्लाका साथ १५–२० जनाभन्दा बढीको हाम्रो हुल प्रिन्सिपलको कोठामा अकस्मात् पसेको थियो, त्यसरी नै जसरी धरान बजारलाई चिरेर सुतेको खहरे खोलामा हठात् आउने बाढी कसैको छाप्रामा तहसनहस पार्दै पस्थ्यो । अफिसबाहिर बरन्डामा गुजुल्टो परेका विद्यार्थीहरुको थप भीड बेग्लै थियो । अघिपछि त्यस कोठामा पस्नलाई निकै हिम्मत बटुल्नुपथ्र्यो । तर, विवेकशून्य उन्मादको रङ दिमागमा चढेका बेलाको कुरा बेग्लै हो ।

तुमुल स्वरमा चिच्च्याउँदै कुर्सीमा बसिरहेका प्रिन्सिपलको टेबुलमा खनियौँ । शरीरले च्याँसे म जिरे खुर्सानीसरह पड्किरहेको थिएँ, प्रिन्सिपलको टेबुल सामुन्ने उभिएर । अरु पनि कान खानेगरी एकर्कालाई उछिन्दै कराइरहेका थिए । प्रिन्सिपल महाप्रसाद यस अनपेक्षित झम्टाइबाट हतप्रभ भएका थिए । विद्यार्थीको क्रुद्ध हुल अतिशय उत्तेजित र अनियन्त्रित भयो । हामीमध्येको सबैभन्दा बलिष्ठ र आठराईतिरका अग्लो एक विद्यार्थीले कुर्सीनजिक गएर दुई घुस्सा कस्यो प्रिन्सिपलको पेटमा । बरा, घुस्साको चोटले रन्थनिएका प्रिन्सिपल दुई हातले पेट थिचेर कुर्सीबाट उठे । पीडाले उनको अनुहार विकृत भएको थियो ।

त्यो घुस्सा परेपछि सम्भवत: तत्क्षणै सबैलाई महसुस भयो, सीमा नाघियो भन्ने अथवा दिनुपर्ने सजाय दिइयो भन्ने । हातै हाल्ने कुनै योजना लिएर हामी भित्र पसेका थिएनौँ । तर, हात हालिसकिएको थियो । मानौँ, कुनै ठूलो युद्ध जितेजस्तै हाम्रो पूरै जमात प्रिन्सिपलको अफिसबाट नारा लगाउँदै त्यसरी नै निस्कियो, जसरी केही बेरअघि पसेको थियो ।यो अनिष्ट हुने बीज थियो, विद्यार्थीहरुको ‘खरानी’ र ‘गोबर’ समूहबीच लामो समयदेखि विद्यार्थी युनियनबारे चलिरहेको विवाद । विद्यार्थी युनियनको चुनाव टारिएको थियो, जो ‘गोबर’ समूहका विद्यार्थी चाहन्थे र त्यो उनीहरुले प्रिन्सिपलको सह पाएर गरेका हुन् भन्ने ठनाइ ‘खरानी’ समूहका विद्यार्थीहरुको थियो । यी नितान्त अराजनीतिक नाम पाएका तर पूर्णत: राजनीतिक विचारले विभाजित विद्यार्थीहरुलाई पढाइभन्दा युनियनको गठन अत्यधिक प्यारो थियो । त्यसैले रडाको चलिरहेको थियो । पढाइमा ध्यान दिने ज्ञानी विद्यार्थीहरु पनि कलेजमा नभएका होइनन् तर तिनको आवाज कसले सुनिदेओस् !

‘खरानी’ र ‘गोबर’ भन्ने जुन विशेषण चल्तीमा आएको थियो, त्यो बनारसबाट सोझै आयातित थियो । अनि, त्यसको प्रयोग केवल कलेज हाताभित्र सीमित थिएन, धरान बजारका बासिन्दासमेत त्यसबाट वाकिफ थिए । ‘खरानी’ भन्नाले वामपन्थी वा कम्युनिस्ट समर्थक विद्यार्थी बुझाउँथ्यो र ‘गोबर’ भन्नाले कांग्रेस समर्थक । यद्यपि, उनीहरु आफैँलाई त्यस नामबाट पुकार्दैनथे । त्यो त अर्को पक्षले गालीका रुपमा चलाउने नाउँ थियो । जस्तै : कसैले ‘साले खरानी’ भन्यो भने त्यो भन्ने विद्यार्थी आफूचाहिँ ‘गोबर’ हुँ भन्ने स्वीकारिरहेको हुन्थ्यो । त्यसैगरी ‘गधा गोबर’ भनेर अरुलाई गाली गर्नेले आफू खरानी हुँ भन्ने जताइरहेको हुन्थ्यो । ‘हामी खरानी हौँ’ अथवा ‘हामी गोबर हौँ’ भन्ने समूहगत पहिचान पनि कसैले अभिव्यक्त गर्दैनथे । ‘खरानी जिन्दावाद’ वा ‘गोबर जिन्दावाद’ भन्ने नारा पनि लगाउँदैनथे । बस्, त्यो एकर्कालाई होच्याएर चिनाउने फुल नामका रुपमा प्रचलित थियो र त्यसको प्रयोगमा मानौँ, उनीहरुबीच कुनै अव्यक्त सहमति थियो ।

यस विशेषणको उद्भव भयो कसरी ? अघि नै उल्लेख भइसक्यो, यसको उद्गमस्थल बनारस हो भनेर । नेपालबाहिर पञ्चायतविरोधी राजनीतिको केन्द्रस्थल हुनाका साथै परम्परागत शैक्षिक थलो पनि थियो, नेपालीहरुका लागि बनारस । झन् धरानजस्ता सीमाछेउका नगरहरुका लागि पढ्ने–पढाउने कुरामा बनारस नै थियो सजिलो ठाउँ । त्यतिन्जेल काठमाडौँको बाटो सोझिइसकेको थिएन, अझै बांगोटिंगो र घुमाउरो नै थियो । बनारस बसेर ढुक्कसित कलेज वा विश्वविद्यालयमा मेलैसित पढ्नेहरु पनि थिए । कतिपयचाहिँ मौसमी विद्यार्थीहरु थिए, त्यहाँ जाने । म्याट्रिकमा गुल्टियो, अर्कोपटक जाँच दिन बनारस । नेपालमा आईएमा फेल, अर्कोपटक जाँच दिनलाई लाग्यो, बनारस । नेपालमा बीएमा असफल, चल्यो बनारस । केही महिना उता बस्थे, जाँच दिएको भन्थे । नभन्दै पास भएर आउँथे । बनारसमा त्यस्तो के बुटी थियो या के गुर थियो कुन्नि ! नेपालको परीक्षामा नालायक ठहरिएका विद्यार्थीहरु सहजै पास भएर देखाइदिन्थे उताबाट । परीक्षा चल्ने सिजनमा एकथरी विद्यार्थीको हुलै जान्थ्यो, धरानबाट बनारस । यसप्रकारको आनाजाना र निकटताले गर्दा पहिरनको नयाँ फेसनदेखि धेरै थोक सोझै आइपुग्थ्यो, यूपीको त्यस सहरबाट धरान । त्यसैगरी आएको थियो, उतै न्वारान भएर ‘खरानी’ र ‘गोबर’को नाम ।

‘खरानीलाई जस्तै फु गरेर उडाइदिन्छौँ कम्युनिस्टहरुलाई भन्थे रे’ काङ्ग्रेसीहरु पसारिएको हत्केला देखाउँदै । ‘गोबरका थास हुन् काङ्ग्रेसीहरु, लात्तीले कुल्चिदिन्छौँ भन्थे रे’ कम्युनिस्टहरु लात्ती उचाल्दै । यसरी बनारसबाट ल्याइएको नामलाई सर्लक्क बोकेर दुई खेमामा विभक्त थिए, धरान महेन्द्र कलेजका विद्यार्थीहरु । मण्डले भनिनेहरु जन्मिसकेका थिएनन्, त्यसबेला । यद्यपि, जन्मने लक्षणहरु देखा परेका थिए । त्यसैले झगडा–रगडा चल्थ्यो यिनै दुई ‘खरानी’ र ‘गोबर’ नामधारी समूहबीच । सामान्य झगडा मारपिटमा पनि परिणत हुन्थ्यो कहिलेकाहीँ हिंसाको त्यो लहर पोखिएर धरान बजारसम्म पनि पुग्थ्यो । उता कलेजमा ढुंगामुढा चल्थ्यो, यता बजारका दोकानहरु बन्द हुन्थे । एक किसिमले विद्यार्थीहरुको यस घम्साघम्सीले गर्दा आमाबाबु र अभिभावकहरुसमेत विद्यार्थीका दुई खेमामा बाँडिएका प्रतीत हुन्थे । उनीहरु आफूले मन पराउनेलाई च्याप्थे, मन नपराउनेलाई दुत्कार्थे । पुलिसले लखेट्दै आएमा एकथरीलाई आश्रय दिएर लुकाउँथे, अर्काथरीलाई ढोका थुनिदिन्थे । एक प्रकारले सिंगो धरान बजार ध्रुवीकृत थियो, राजनीतिक लाइनमा ।

अनि, कलेजका अध्यापकहरुलाई पनि एउटा वा अर्को समूहको पक्षधर वा विरोधीका रुपमा हेर्ने गरिन्थ्यो । वाणिज्य र कला संकायको पढाइ हुने महेन्द्र कलेजमा पढाउने नेपाली शिक्षकको अभाव थियो उसबेला । त्यसैले धेरै शिक्षक बिहारतिरका हुन्थे– पूर्णिया, समस्तीपुर, दरभंगा, लेहरीसराय, पटना आदि ठाउँबाट आएका । त्यसरी विशुद्ध नोकरीका लागि बाहिरबाट आएका शिक्षकहरुको ध्याउन्न कसरी लेक्चररको आफ्नो पद जोगाउने र कसरी विद्यार्थीको रडाको बीच तटस्थता कायम गर्ने भन्ने हुन्थ्यो । तर, रैथाने अध्यापकको हकमा त्यस्तो निरपेक्षता वा तटस्थता कायम गर्नु असम्भव नभए पनि कठिन हुन्थ्यो । उनीहरु वास्तवमै निष्पक्ष भए पनि देख्नेले त्यस्तो देख्न इन्कार गथ्र्यो । उनीहरुको सामाजिक, पारिवारिक र निजी पृष्ठभूमिका कारण पनि त्यसो हुन गएको थियो । जस्तो : प्रिन्सिपल महाप्रसादको हकमा भएको थियो ।

जमिनदार परिवारका महाप्रसादको आफ्नै व्यक्तिगत छवि र प्रतिष्ठा थियो, समाजमा । पहिलेदेखि नै कांग्रेसी रङमा रङ्गिएको थियो, पूरै रिजाल परिवार । केही फाट्टफूट्ट घरपरिवार थिए रिजालका, जो अपवादस्वरुप कम्युनिस्ट भएका थिए । उता आचार्यहरु प्राय: कम्युनिस्ट क्याम्पमा दरिएका थिए । विसं ०१५ को आमनिर्वाचनमा तीन घोघा मकै र हँसिया चिह्न लिएर उठेका उम्मेदवार दिव्यप्रसाद आचार्य ठूला कम्युनिस्ट नेता थिए । आचार्यहरुमा पनि कांग्रेस नभएका होइनन् तर एकदमै थोरै । ढकालहरु कोही कम्युनिस्ट थिएनन्, न त बाँस्तोलाहरुको त्यत्रो ठूलो खलकका कोही कम्युनिस्ट भनेर चिनिएका थिए । केदारनाथ खनाल अर्का ठूला कम्युनिस्ट नेता थिए, जो ०१७ मा भएको धरान नगरपालिकाको निर्वाचनमा मेयर चुनिएका थिए । त्यसैले हो कि खनालहरु प्राय: कम्युनिस्ट थिए । त्यस्तै पारिवारिक परम्परा देखिएको थियो र चलिरहेको थियो धरानमा । तसर्थ, आफ्नो सामाजिक व्यक्तित्वसित अविभाज्य रुपमा टाँसिएको कांग्रेसी छविलाई महाप्रसादले चाहेर पनि मिल्काउन सक्ने अवस्था थिएन । झन् रातो रङको चस्मा लगाएका आँखाले हेर्दा उनी कट्टर कांग्रेसी देखिनु स्वाभाविक थियो । भएकै त्यही थियो ।

नत्र उनीजस्ता माथिल्ला स्तरका व्यक्तिले कलेजमा पढ्ने उरन्ठ्याउला छुसी ‘गोबर’ विद्यार्थीहरुसित मिलेर कुनै दुरभिसन्धि गर्नु सम्भव नै थिएन । जस्तो नाम थियो महाप्रसाद, उनको व्यक्तित्व, चालढाल, बोलीव्यवहार त्यस्तै थियो । बडो सालीन र रोबदार ‘पर्सनालिटी’का धनी । जहिले पनि सुट र टाइमा सजिएका । हातमा कुनै पुस्तक र विद्यार्थीको हाजिरी रजिस्टर बोकेर क्लासतिर लमकलमक लम्किरहेका । राजनीतिशास्त्र पढाउँथे र अंग्रेजीमा सर्रर व्याख्यान दिन्थे । अग्ला कदका र श्याम वर्णका प्रिन्सिपल महाप्रसाद हुनसम्मका ‘ह्यान्डसम’ थिए, कमसेकम मेरो दृष्टिमा । मलाई उसबेलाका हिन्दी फिल्मका अभिनेता राजकुमार र रहमानको मिश्रणजस्तो लाग्थ्यो, महाप्रसाद सर । पर्दामा अभिजात वर्गीय चालढाल थियो रहमानको । कालो कपाल तेल लगाएर सिनित्त कोरिएको र शिरको बायाँपट्टि सिउँदो काटिएको । त्यस्तै थियो, महाप्रसादको केशविन्यास र चालढाल । मुहारमा अभिनेता राजकुमारको झलक । तर, मेरो हिसाबमा महाप्रसाद सर राजकुमारभन्दा एक खुट्किला बढी ह्यान्डसम थिए । कलेजका प्रिन्सिपल हुनलाई हरेक दृष्टिले लायक र पदीय गरिमा राख्नलाई पूर्ण समर्थ । प्रिन्सिपल त के उनलाई विश्वविद्यालयका उपकुलपति पदमा थपक्क राखे पनि फरक नपर्ने ।

महाप्रसाद सरजत्तिकै पद सुहाउँदो व्यक्तित्व र व्यवहार भएको मैले अर्को व्यक्ति देखेको धरान पब्लिक हाई स्कुलका हेडमास्टर हरिहरप्रसाद हुन् । उसबेला अहिलेजस्तो यूकेजी र एलकेजीमा पढाउनेलाई पनि प्रिन्सिपल भन्ने चलन थिएन । प्रिन्सिपल त कलेजको मात्रै हुन्थ्यो । स्कुलका प्रमुख शिक्षक हेडमास्टर नै कहलिन्थे । एउटा श्रेणी विभाजन थियो, कोटि छुट्याइएको थियो । हाई स्कुलका हेडसर हरिहरप्रसादको व्यक्तित्व पनि उत्तिकै प्रभावशाली थियो । उनलाई पर देख्नेबित्तिकै पानी परेको नुन जसरी पग्लिन्थे केटाहरु ।

जे होस्, त्यस्ता थिए हाम्रा प्रिन्सिपल महाप्रसाद सर र उनकै विरुद्ध हामीले कलेजमा त्यो काण्ड मच्चाएका थियौँ अघिल्लो दिन । राजनीतिको प्रेतबाट निर्देशित भएर आफ्नै गुरुको त्यस्तो अपमान गरेका थियौँ । हामीबाट अक्षम्य अपराध हुन गएको थियो भन्ने बोध भोकले चिसिएको दिमागमा बिस्तारै पस्दै थियो । आफ्नो कुकृत्यको सजाय कस्तो मिल्ला र त्यसको मात्रा के होला भन्ने डरले भित्रभित्रै गाँजिरहेको थियो, एसपी अफिसको फराकिलो चउरमा अनिश्चित कारबाहीको प्रतीक्षामा बसिरहेका बेला ।साँझसम्ममा हाम्रा सिनियर सिद्धान्तकार अगुवाहरुलगायत ‘खरानी’ जमातका प्राय: सबै कार्यकर्तालाई एक डल्लो पारेर ल्याइसकेका थिए पुलिसले । जाडो यामको छोटो दिन भए पनि मनमा उम्लेको व्यग्रताले गर्दा दिन तन्किएजस्तो लागिरहेको थियो । साँझ पर्नेपर्ने बेलामा चिउरा–सिउरा यस्तै केही खाजा खान पाइयो । अँध्यारो हुनाको बेर थियो, दुईवटा बस आएर तेर्सिए एसपी अफिसको हातामा । पक्राउ परेका विद्यार्थीको संख्या ६० जति पुगेको हुँदो हो । हामीलाई विराटनगर लगिने पक्का देखियो । आखिर अञ्चलाधीशको कार्यालय, जेल आदि सबै थोक विराटनगरमै थिए । बाटामा कुनै उपद्रव नहोस् भनेर हामीलाई लैजान राती हुन्जेल पर्खेका थिए पुलिसले सायद ।

धेरैका अनुहार त न्यास्रिएका थिए । तर, हामी केही अगुवा ठानिएकाले त विचलित हुनुभएन । यसैले बसको यात्रा गीत गाउँदै, थपडी बजाउँदै अरुलाई ताल मिलाउन हौस्याउँदै काटियो । धरान छाडेको लगभग दुई घन्टापछि हामीलाई लिएर गएको बस जहाँ रोकियो, त्यो ठाउँ विराटनगर मधुमारा जेलको फाटक थियो । बसबाट ओर्लनासाथ हिया कटकट खाने मधेसको चिसोले हाम्रो स्वागत ग‍र्‍यो । बिजुलीको मधुरो प्रकाशमा एक–एकको टाउको गन्दै हामीलाई हुलियो जेलको गेटभित्र । कुनै अज्ञात सुरुङभित्र पसेको भान भएको थियो सुरुमा । फलामको बडेमाको चुइँकिने गेटबाट ठूलो कोठाजस्तो ठाउँमा छिरेर फेरि अर्को चुइँकिने फलामे गेट पार गरेपछि जेलको भित्री भागमा पुगियो । २० फिट अग्लो पर्खालले घेरेको बीच भागमा रहेको पुरानो दुई तले घरको भ‍र्‍याङ चढाएर हामीलाई माथ्लो तलामा लगियो । मानौँ, ढुसी र सडान्धको मुस्लो हाम्रै प्रतीक्षामा थियो । बीचमा बारिएको लामो हल थियो, जहाँ जमेको धूलोमाटोलाई हतारमा लापारलुपुर गरेर बढार्ने प्रयत्न गरेको देखिन्थ्यो । दलिन र झ्यालमा जेलिएका माकुरा–जालो हटाउन भ्याएका थिएनन् क्यार ! त्यही भुइँमा बिनाखोलका डसना लस्करै बिछ्याइएका थिए र ओढ्नलाई राखिएका थिए धुस्साहरु । ती डसना र धुस्सा भर्खर कुनै मारवाडीको गोदामबाट सोहोरसाहर पारेर ल्याइएका जस्ता देखिन्थे । तिनबाट कपडाको नौलो गाँठ फुकाउँदाको गन्ध आइरहेको थियो । भला, कसैले पहिलेबाटै उपयोग गरेको पुराना जिनिस थिएनन् ती । हाम्रो गाइड बनेर अघिअघि आएको मानिस जेलको नाइके थियो क्यार ! उसले पानीका लागि तल आँगनमा रहेको ट्युबवेल र पर्खालको कुनामा रहेको पाइखाना देखायो । आज अबेर भइसकेकाले बाँकी अरु कुरा भोलि बिहान सबेरै आएर बताउँला भनी ऊ बिदा भयो ।

जति सिकसिको लागे पनि अनिश्चित कालसम्मका लागि हाम्रो बास यहीँ हुने पक्का थियो । यस यथार्थलाई स्वीकार्नुबाहेक अरु उपाय पनि थिएन हामीसित । मनको उद्वेलनलाई दिनभरिको थकानले जित्न समय लागेन । हामी सबै छिटै भुस भयौँ ।भोलिपल्ट बिहान तल जेलको आँगनमा हामीले चार–पाँचवटी आइमाई देख्यौँ । एउटा तीन–चार वर्षको बच्चो पनि थियो उनीहरुको साथमा । हिजो रातीकै नाइकेबाट पछि थाहा भयो, उत्तरतिर अग्लो पर्खालपारि रहेको मर्दाना जेल कैदीहरुद्वारा टनाटन भरिएकाले हाम्रो जमातलाई यता राखेको भन्ने । उसैबाट थाहा भयो, वास्तवमा हामीलाई राखिएको ठाउँ त जनाना जेल रहेछ । उसको भनाइमा अघि आँगनमा देखा परेका जनानाहरु कैदी थिए र तिनलाई हामी आए उप्रान्त दिउँसोभरि बाहिरै राख्ने व्यवस्था मिलाइएको थियो ।त्यही जनाना जेल हाम्रो घर बन्यो, लगभग दुई महिनाका लागि ।

Page 54
दसैँ साहित्य

विश्रामको एक साता !

- राजेश मिश्र

वि सं ०४९, १६ साउन, शुक्रबार मध्याह्नको आकाश मनसुनी बादलले डम्म थियो । पानी पर्दै थियो । थाइल्यान्डको बैंककबाट काठमाडाँैका लागि उडेको थाई एयरवेजको ए–३१० विमान अवतरण गर्नुअघि पखेटामा केही समस्या देखियो ।

यसअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रकले यो विमानलाई ‘सियरा सर्कल एप्रोच’ अर्थात् दक्षिणतिरबाट धावनमार्ग (रन–वे) २० मा अवतरण गर्ने अनुमति दिइसकेका थिए । विमान चालकले प्राविधिक समस्या देखाउँदै देब्रे मोडिएर भारतको कलकत्तातिर जाने अनुमति मागे ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा त्यतिबेला आधुनिक राडार प्रविधि जडान भइसकेको थिएन । ट्राफिक नियन्त्रकसँग केवल नौ महिनाको अनुभव थियो । अर्को समस्या थियो, भाषाको । उनलाई सघाउन त्यहाँ अर्का अनुभवी कोही पनि थिएनन् ।

उनले विमानलाई आफ्नो मार्ग परिवर्तन नगरी रनवे २० को सट्टा रनवे–२ मा अवतरण गर्ने निर्देश दिए । चालकले पटक–पटक हावाको गति र ‘भिजिबिलिटी’को जानकारी मागे । तर, ट्राफिक नियन्त्रकले बारम्बार रनवे–२ उपलब्ध रहेको कुरा मात्रै दोहोर्‍याए । टावरबाट ठोस जानकारी नपाएपछि हतास चालकले देब्रे मोडे र कलकत्ता जाने आफ्नो योजना त्यागेर दाहिने मोडिएको जानकारी दिए । ट्राफिक नियन्त्रकले सोचे, विमानले अवतरण गर्ने योजना परित्याग गर्‍यो । उनले विमानलाई ११ हजार ५ सय फिटको उचाइमा जाने निर्देश दिए ।


विमान त्यतिबेला ९ हजार ५ सय फिटको उचाइमा थियो । दुई हजार फिटमाथि जान उसले ३ सय ६० डिग्रीको मोड लियो । अनि, विमानस्थललाई नाघेर ३७ नटिकल माइल (आकाशको सोझो दूरी) सीधै उत्तरमा रहेको रसुवाको घोप्टेभीर र ठाडे डाँडाको खोँचमा ठोक्कियो । १४ मुलुकका ९९ जना यात्रु र चालक दलका १४ जनाको अकाल मृत्यु भयो । नेपाली उड्डयनको आकाशमा यो पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय दुर्घटना थियो ।

यस्तो ऐतिहासिक दुर्घटना हुँदा नेपालमा गिरिजाप्रसाद कोइराला ऐतिहासिक रुपमा शक्तिशाली प्रधानमन्त्री थिए । नेपाली कांग्रेसभित्रको द्वन्द्व सतहमा देखिन मात्र होइन, उम्लिन थालेको थियो । यही द्वन्द्वका कारण देशान्तर साप्ताहिक फुटेर सुरुचि हुँदै किशोर नेपालको नेतृत्वमा बानेश्वरबाट स्वतन्त्रता साप्ताहिक सुरु भइसकेको थियो । सुरेश आचार्य, सुवास ढकाल किशोर नेपालसँग गए । म दिवंगत शिव अधिकारी दाइसँग रहेँ । यसका पछाडि अन्य यस्ता धेरै कारण छन्, जो सामान्य पाठकको सूचना उपभोग गर्ने अधिकारभित्र नपर्न सक्छ । म स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै कुखुराको मासुबाट एड्स सर्दैन भनी समाचार दिन्थेँ, सुवास ढकाल स्वतन्त्रतामा ‘वाह ! क्या खण्डन है !’ भन्दै ‘ काउन्टर’ दिन्थ्यो । सुरुचिका पूर्वाञ्चल प्रतिनिधि अनन्तराज न्यौपानेले ‘सुपारीको तस्करीमा कमी आयो’ भन्ने बेहोराको समाचार लेख्दा सुरेश आचार्य स्वतन्त्रतामा ‘कतैबाट निर्देशन आयो अनि सुरुचिले छाप्यो’ भन्दै विचार लेख्थे । हामी पत्रकारिताभन्दा पनि द्वन्द्वकारितामा व्यस्त थियौँ ।

अचानक, शुक्रबार दिउँसो काठमाडौँमा ओर्लिनुपर्ने थाई एयरवेजको विमान नेपाली आकाशमा कतै हरायो भन्ने गाइँगुइँले मेरो कान ठाडो पार्‍यो । त्यो दुर्घटनामा परेका २३ जना नेपालीमध्ये एक जनाका आफन्तले मलाई पो केही थाहा छ कि भनेर सम्पर्क गरेपछि म झसँग भएँ । अर्थहीन नेपाली राजनीतिक रिपोर्टिङको ‘मोनोटोनी’बाट मुक्त हुने अवसर आएजस्तो लाग्यो मलाई । काँचो उमेरको जोस धेरै, होस कम थियो ।

त्यो दुर्घटना मेरा लागि सम्बन्धित मान्छेको जीवनमा अचानक आएको त्रासदीभन्दा समाचार लेख्ने र सबैभन्दा पहिले लेख्ने एउटा अवसरजस्तो लाग्यो । कुनै बेला देशान्तरमा सँगै काम गर्दाका सिनियर दाइ जयप्रकाश आनन्द प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए । पुतलीसडकमा खाँदाखाँदैको बंगालीको सेकुवा र बियर छोडेर कुद्दै माथि सुरुचिको अफिसमा गएँ अनि बालुवाटारमा फोन गरेँ । मुलुक चलाउने सूचना र शक्तिसम्पन्न कोइराला किचेन क्याबिनेटका सदस्यहरुसँग समेत त्यतिबेलासम्म घटनाका बारेमा जानकारी भए पनि विस्तृत विवरण शून्य रहेछ । “खोइ, आर्मीले भने अनुसार जहाज मकवानपुरको पालुङतिर खसेको छ भन्ने मात्र थाहा भयो,” जेपी दाइले एक सासमा भनेर फोन राखिदिए । बालुवाटारमा आपत्कालीन बैठक बसेकोसम्म थाहा भो । यद्यपि, पालुङ भन्ने सूत्र फेला पर्‍यो । तर, अचानक जाने कसरी ?

कुनै बेला एलसी काण्डमा परेर एक्लै कुख्याति कमाएर नेपाली कांग्रेस र एमालेका केही नेताहरुका लागि चुनाव खर्च जुटाइदिने एक व्यापारी थिए, प्रकाश टिवडेवाला । नेपालका नेता, प्रहरी र पत्रकार सबैसँग उनको सुमधुर सम्बन्ध थियो । उनी सबैलाई ‘सहयोग’ गर्थे । उनकै सहयोगले कसैले राजधानीमा घर बनाए । कसैले छोरीको बिहेसमेत गरे । उनको सहयोगले मैले खुब सोमरस सेवन गरेँ । आफू मात्र गरिनँ, अहिलेका नामी–गिरामी सबै पत्रकार मेरो महफिलका सक्रिय सदस्य हुने गर्थे । पछि उनैले मलाई जँड्याहाको पगरी लगाइदिए तर आफूहरु भने प्रकाश टिवडेवालाको जलसेवन गरेर भौतिक वैतरणी पार गरे ।

म उनीकहाँ पुगेँ, राती । डिल्लीबजार रसियन गल्लीमा एउटा राणाको सानदार बंगला भाडामा लिएर बसेका थिए उनी । “दाइ, एउटा गाडी तुरुन्त चाहियो । आइतबार पत्रिका निकाल्नु छ । मलाई पालुङ जानुपर्‍यो, अहिले, तुरुन्तै ।” उनले एउटा जिप देखाए । थोत्रो, नेपाली नम्बर प्लेट पनि छैन । भारतीय नम्बर छ । “फरक पर्दैन, गुडे पुग्छ,” मैले गाडी निकालेँ । तर, मध्य बर्खाको बेला राती त्यो कुलेखानीको पुरानो बाटो आफैँले गाडी हाँक्नु मूर्खता हुन्थ्यो । रातारात अनुप थपलियाले मैतीदेवीको एउटा चालक फेला पार्‍यो । राती नै कुदियो, मकवानपुरतिर ।

थोत्रो जिपमाथिको त्रिपालले पानी थेग्न सक्दैन । आफू भिजे केही छैन, समज्ञ लाकौल दाइको क्यामेरा जोगाउन गाह्रो भो । त्यसमाथि जोसिएर प्रकाश दाइको भिडिओ क्यामेरा पनि बोकेको छु । अलिकति उकालो लाग्यो कि गाडी थ्याच्च बसिदिन्छ । अनेक बल गरेपछि खोक्दै अलिकति अगाडि जान्छ, फेरि थच्चिन्छ । यो तालले पालुङ कसरी पुगिएला ? काठमाडाँैमा विमान पालुङमा खसेको हल्ला एक कान, दुई कान मैदान भइसकेको रहेछ । अब बाटोमा गाडी भरिन थाले ।

हाम्रो थच्चिएको गाडीले साँघुरो मोडमा यातायात नै ठप्प पार्‍यो । हाम्रा कलिला ड्राइभर रुन थाले । पछाडिबाट आएको गाडीका चालकले बोनट खोलेर यताउति छानबिन गरे । अनि, इन्जिनको ‘फिल्टर’ झिकेर फालिदिए । मैलो जमेर तेल नै पास नहुने भएको रहेछ । त्यसपछि त्यो अँध्यारो बाटोमा गाडी हावाझैँ उड्यो । झिसमिसेमा पालुङ पुगियो । तर, त्यहाँ विमान होइन, राजधानीबाट पुगेका गाडीका ताँतीबाहेक केही भेटिएन । पालुङे होटेल साहुजीहरुले राम्रो व्यापार गरे । विमान पालुङमा झरेको समाचार असत्य रहेछ । दिग्दारीका साथ राजधानी फर्कियो, शनिबार साँझ । भोलिपल्ट अखबार निकाल्नु छ । न लेख्ने कुरो छ, न लेख्ने तागत ।

देशान्तर फुटेदेखि सम्पादक शिव दाइलाई मैले कहिले प्रमुख समाचार लेख्ने मौका दिएको थिइनँ । त्यतिबेलासम्म विमान रसुवातिर खसेको कुरा थाहा भइसकेको थियो । दाइले तानतुन पारेर समाचार लेख्नुभयो । अखबार निकाल्नु अघिल्लो दिन जीवनमा पहिलोपटक म साँझ ७ बजे अफिसमा नै सुतिदिएँ । भोलिपल्ट अखबारमा जे छापियो, त्यो कमजोर सामग्री थिएन । अरु अखबारले पनि हामीले छुटाएका कुनै उल्लेख्य कुरा लेखेका थिएनन् । अब एक हप्ता बाँकी थियो । हामीले रसुवा जाने निधो गयौँ । तर, एक्लै किन जाने ? साथीभाइलाई खबर गरियो । त्यतिबेला दृष्टि साप्ताहिकका किशोर श्रेष्ठ, जनमञ्च साप्ताहिकका नारायण वाग्ले, फोटो पत्रकार चन्द्रशेखर कार्की, देशान्तरका राजेश घिमिरे, सुरुचिका मलगायत अनुप थपलिया अनि केदार कोइराला, पत्रकारितामा नभए पनि हामी सबैका साथी राजकुमार खड्का र उनका दाइ पुस्कल खड्काको टोली आइतबार राती रसुवा लागियो ।

धन्न यसपटक गाडीको स्टेरिङ पुस्कल दाइको अनुभवी हातमा थियो । यो कुराको आभास मलाई त्यतिबेला भयो, जब रानीपौवा पुग्न लाग्दा हाम्रो गाडीको क्लचप्लेट नै भाँचियो । यो जिनिस भाँचिएपछि गाडी स्टार्ट भए पनि गियरमा हाल्न मिल्दैन । गियरमा नहाली गाडी अगाडि बढ्दैन । मध्यरात परेको पानी चुट्ने गरी दर्किएको छ । नुवाकोटको पिच फुटेको बाटोमा चिप्लो रातो माटो बग्दैछ । “लौ, अब मलाई दुई जना भोलिन्टियर चाहियो,” पुस्कल दाइले भन्नुभो । “म गाडी स्टार्ट गर्छु, दुई जनाले ठेल्नु, गुडिरहेको गाडीमा क्लच नथिचे पनि बिस्तारै गियर हान्न सकिन्छ,” उहाँले रातको अँध्यारोमा उपाय जुराउनुभो । नारायण वाग्ले र म स्वयंसेवक भयौँ । गाडी स्टार्ट भएपछि हामी ठेल्थ्यौँ अनि गियरमा लागेपछि बाँदरझैँ उफ्रिएर गाडीमा हाम फाल्थ्यौँ ।

बिहान २ बजे त्रिशूली बजार नपुगुन्जेल नारायण र मेरो बाँदर बुर्कुसी चलिरह्यो । गाडीमा बस्ने साथीहरु भने बास बस्ने ठाउँमा कुखुराको तात्तातो झोल र भात खाने सपना देख्दै थिए । त्यतिबेला पुगेका हामीलाई बास बस्ने ठाउँ दिन एक जना होटलवाला दाइ राजी त भए । तर, मध्यरातमा कुखुरा काट्न तयार भएनन् । पाप लाग्छ रे ! हामी काट्छौँ नि त भन्दा पनि मानेनन् । अन्तत: उनको भान्सामा रहेको बर्खे तरकारीको नुनिलो झोल र गीलो भात खाएर नौ जनाको समूह तीनओटा खाट जोडेर सुतियो । कसको गोडा कसको टाउको  ? कसलाई के मतलब ?

बिहान ७ बजे पुस्कल दाइले आफ्नो सम्पर्कको सहयोगमा गाडी मर्मत गर्नुभो । हाम्रो गन्तव्य पुग्न फेरि ढिकुरे भन्ने ठाउँतिर फर्किनुपर्ने रहेछ । त्यहाँबाट गाडी जाने बाटो पनि छैन । हामी उकालो लाग्दै गयौँ । खाना पकाएर खाने समय थिएन । दिनभरि हिँड्दा हामी जहाँजहाँ अडिन्थ्याँै, त्यहाँ वरपरका पसलमा बिस्कुट र चाउचाउका भण्डार खाली हुन्थे । जुका लागेर सबैका गोडा रक्ताम्य थिए । चिप्लोमा कतिपटक को लड्यो, लेखाजोखा थिएन । तर, सबैभन्दा बढी केदार कोइराला लडेको कुरा हामी सबैलाई थाहा भयो । ऊ हामीभन्दा अघिअघि हिँड्दै बस्तीतिर सुत्त छिर्दो रहेछ र दुई–चार डबका छ्याङ तानिहाल्दो रहेछ । हामी राती ९ बजेतिर समुन्द्रटार भन्ने ठाउँमा बास बस्ने निधो गरेर जाँदै गर्दा हिलोले पोतिएको केदार हाम्रो बाटो ढुकेर तर्साउन बसेको थियो । हामीलाई तर्साउने सुरमा आफँै चिप्लिएर डिलमुनि पछारियो । त्यसपछि उठ्न सकेन । सबैले मिलेर उसलाई झ्याइँकुटी पारेर बास बस्ने घरसम्म पुर्‍याइयो ।

हामीले फेरि त्यहाँ पनि कुखुरा छ कि भन्ने आशा प्रकट गर्‍यौँ । कुखुराको सट्टा राँगाको सुकुटी र दालभात प्राप्त भयो । खुसीको सीमा रहेन । अचानक नारायण वाग्लेले घरधनीलाई सोध्यो, “दाइ ! अलिकति काँचो तेल होला ?” तेल पाएपछि ऊ चुल्होको छेउमा बसेर भिजेको लुगा धमाधम खोल्न थाल्यो । अनि आगोमा तेल सेकाउँदै जीउभरि दल्यो । “हड्डीमा चिसो लाग्न दिनुहुन्न क्या,” ऊ ठट्यौली पारामा भन्थ्यो । नभन्दै हाम्रो समूहमा सबैभन्दा चिम्मट र ज्याद्रो ऊ नै थियो । उकालो लागेपछि बोकेको भिडिओ क्यामरा मलाई घाँडो भइसकेको थियो । चन्द्रशेखरले त्यो पाँच मिनेट बोकेर दुई मिनेटजति एउटा छाँगोको फुटेज खिचेको बाहेक त्यसको कुनै उपयोग भएको थिएन । कसैले बोक्न नमानेपछि नारायणले नै त्यसलाई डोकोझैँ बोकेर त्यहाँसम्म पुर्‍याएको थियो ।

भोलिपल्ट बिहानै ६ बजे हाम्रो यात्रा फेरि सुरु भयो । तीन घन्टा हिँडेर दुर्घटनास्थलको फेदीमा पुग्दा त्यहाँ सेनाको कडा पहरा थियो । “यहाँभन्दा माथि कसैलाई जान नदिनु भन्ने आदेश छ,” बन्दुक बोकेका सैनिकले सीधा सपाट भाषामा फर्किन भने । यसपछि हामी सबैको नौनारी गले । बहस गर्नुको कुनै अर्थ थिएन । अहिलेजस्तो मोबाइल फोनको जमाना हुँदो हो त कुनै उपाय लाग्थ्यो होला । ११ हजार फिटमाथि त्यो अनकन्टारमा हाकिमको आदेशले बाँधिएको अनि बन्दुक बोकेको सिपाहीलाई सलाम गर्दै भारी मनले हामी फर्कियौँ ।

निराशा र आक्रोशयुक्त भाव लिएर हामी केही नबोली केही घन्टा चुपचाप ओरालो लाग्यौँ । बीच बाटोमा एउटा बस्ती आयो । एकछिन यात्राको बिट मारेर आराम गर्ने भइयो । एउटा घरमा केही खानेकुरा पाइन्छ कि भनेर सोधियो । नाकमा बुलाकी लगाएकी एक युवतीले मकै भुट्न सकिने कुरा भनिन् । केदारले छेउको अर्को घरमा गएर एक घ्याम्पो छ्याङ ल्यायो । नारायण ती युवतीको अन्तर्वार्ता लिन थाल्यो । चन्द्रशेखर उनको वरिपरि घुम्दै तस्बिर लिन थाल्यो । केदारले ल्याएको छ्याङले नपुगेपछि तिनै युवतीले आफ्नै घरको मकैको भ्याबरले सत्कार गरिन् । राजेश घिमिरेले कतैबाट सियो–धागो ल्याएर यात्रामा च्यातिएको जुत्ता आफँै सिउन थाल्यो । सबैको मुड ‘फ्रेस’ थियो ।

ढिकुरे पुगेर दिउँसो सार्वजनिक धारोमा लाम लागेर नुहाएर कुखुराको झोल र भात खाँदासम्म हाम्रो ‘असाइन्मेन्ट’ एउटा ‘एडभेन्चर’मा अनुवाद भइसकेको थियो । फर्किने क्रममा किशोर श्रेष्ठले प्रस्ताव राख्यो, “गएको काम पूरा नभए पनि नुवाकोट दरबार हेरेर जाऔँ न !” त्यो पनि गरियो । तर, दरबारबाट फर्किंदा परेको पानीपछि चिप्लो भएको रातो माटोको ओरालो बाटोले झन्डै ज्यान लिएन । गाडी नगुडी बग्न थाल्यो । यहाँ पनि पुस्कल दाइको अनुभव काम लाग्यो । फर्किंदा बट्टारमा पुलिस चौकीअगाडि एउटा प्रहरीको हाम्रो जिपको भारतीय नम्बर प्लेटमा आँखा गएछ । सिट्टी फुकिहाल्यो । हामीलाई माथि सेनाले रोकेको रिस अब यो प्रहरीमाथि खनियो । सबैले एकैचोटि भने, “रोक्नु पर्दैन दाइ, जाउँजाउँ जाउँ,” त्यसपछि गुडेको हाम्रो जिप एकैचोटि रानीपौवा कटेर नागार्जुन पुग्ने बेलाको प्रहरी चौकीअगाडि पुगेर मात्र रोकियो । त्यहाँ पुलिसको एउटा सशस्त्र दस्ता बाटो छेकेर बसेको थियो । बट्टार चौकीले सञ्चार सेटबाट ‘ एउटा भारतीय नम्बर प्लेटको सन्दिग्ध सवारी साधन’का बारेमा सूचना दिइसकेको रहेछ ।
कडीकडाउ गर्दै हामीलाई चौकीमा लगियो । त्यसपछि हामी सबैले आ–आफ्नो ‘आईडी’ निकालेर गाँठी कुरा फुकायौँ । चौकीका प्रमुखले ‘मिस अन्डरस्ट्यान्डिङ’ भएछ भन्दै हात मिलाएर बिदा गर्‍यो । नारायणले बाटोभरि मलाई ‘हात किन मिलाएको’ भन्दै गाली गरिरह्यो । सबैलाई घर छोडेर बिहान ४ बजेतिर आफ्नो घर पुग्दा समाचारका नाममा हात रित्तो भए पनि मनमा एउटा कहिल्यै नबिर्सिने संस्मरण छापिएको अनुभव भयो ।

राजनीतिको लिकबाट हटेर केही नयाँ सामग्री प्रस्तुत गर्ने अभिलाषामाथि तुषारापात भइसकेको थियो । सकेसम्म कोसिस त गरेको हुँ नि भन्दै आफूले आफँैलाई सान्त्वना दिनुको विकल्प थिएन । अब दुर्घटनाका बारेमा छानबिन भएपछि आउने विज्ञप्ति छाप्नेबाहेक काम नै के थियो र ? यस्तै सोचेर बुधबार दिउँसो सुरुचि कार्यालयमा धुम्म परेर बसेको थिएँ । अचानक मलाई कसैको फोन आयो । “तपाईंकै अफिस वरिपरि छु, एकछिन तल ओर्लिन मिल्छ ? एउटा महफ्वपूर्ण कुरा छ,” एउटा अपरिचित आवाजले भन्यो । “तपाईं को ? मैले कसरी चिन्नु ?” मेरो स्वाभाविक जिज्ञासा थियो । “म तपाईंलाई चिन्छु । म आफैँ आउँछु  !” फोन गर्नेले भन्यो ।

तल ओर्लेर कुरेँ । पाँच मिनेट नबित्दै एक जना भद्र व्यक्तित्व मेरोअगाडि उभिए । “चिन्नुभएन ?” सोधे । म अनकनाएपछि उनले आफैँ भने, “एक महिनाअघि होटल ब्लू स्टारमा एउटा सेमिनारमा हाम्रो भेट भएको थियो ।” अनि, सम्झिएँ । तर, मैले उनको नाम त्यतिबेला पनि सम्झिन सकेको थिइनँ, अहिले त अनुहार पनि त्यति याद छैन । हामी टेकबहादुर कार्कीको सेकुवा घरको माथिल्लो तलामा गयौँ । उनले भने, “हामी धेरै बेर नबसौँ होला । यो सुन्नुहोला, तपाईंलाई काम लाग्ने कुरा छ । तपार्इंको स्टाइल मलाई मन पर्छ त्यसैले । स्रोतको गोपनीयताको कदर गर्नुहोला,” एउटा खैरो खाम दिएर उनी हिँडे । एउटा सेमिनारमा एकछिन भेटेको मान्छेलाई मैले कसरी प्रभावित गरेँ हुँला ? अफिसमा कुदेर गएँ, शिव दाइको अगाडि खाम खोलेँ । पुरानो जमानाको सोनी कम्पनीको टेप थियो ।

अफिसका सहयोगी श्याम भुजेल भाइको वाक म्यान मागेर सुनेँ । पहिले त कुरै बुझिनँ । पाँच मिनेट सुनेपछि उत्तेजनाले शरीर काम्न थाल्यो । त्यो त्यही थाई एयरवेजका पाइलट र विमानस्थल टावरका ट्राफिक नियन्त्रकबीच भएको सम्पर्क संवादको शब्द–शब्द रेकर्ड थियो । संवादको स्वाभाविकता नै त्यो टेपको आधिकारिकता पुष्टि गर्ने सबैभन्दा ठूलो आधार थियो । नबुझेका केही कुरा नजानिँदो पाराले नेपाली सेनाका तत्कालीन कर्नेल पाइलट पुष्प केसीसँग सोधेँ । उहाँले ‘यो एभिएसनको कुरा तपाईंलाई कसरी थाहा भो ?’ भनेपछि थप पुष्टि गर्ने आवश्यकता रहेन ।

नाटकको संवाद शैलीमा त्यो टेपको शाब्दिक उतार सुरुचिमा प्रकाशित भयो । दुर्घटनास्थलमा विमानको भग्नावशेषको तस्बिर गोपाल चित्रकार दाइबाहेक अरु कसैसँग थिएन । शिव दाइले त्यो तस्बिर कसै गरी मगाई छाड्नुभो । आइतबारको बजारमा सुरुचिले क्याफ्टेरियाको तातो केकभन्दा बढी ‘मार्केट’ लियो ।

त्यसपछि प्रतिक्रिया आउनु स्वाभाविक थियो । तत्कालीन दरबार परस्त अंग्रेजी साप्ताहिक दी इन्डिपेन्डेन्टले ‘प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जानीजानी लिक गराएको’ अड्कलबाजी छाप्यो । उता गिरिजाप्रसादको बालुवाटार जाँचबुझको रिपोर्ट आउनुअघि नै नेपाली पक्षलाई दोष दिएकाले सुरुचिसँग कुपित थियो । शिव दाइ र म मुखामुख गरेर हाँस्यौँ । अर्को साताबाट पुरानै ढर्राको राजनीतिक पत्रकारिता जो सुरु गर्नु थियो ।

Page 58
दसैँ साहित्य

जोबनको देउरालीमा

- खगेन्द्र संग्रौला

मेरो लेखकीय परिचय खुलाउँदा अन्य कारहरुका फुदासँगै ‘नाटककार’को जुरो पनि जोड्ने गरिन्छ । फुर्सदिलो मुलुकका मनकारी जनको यो कत्रो उदारता ! विडम्बनावश, यो अविचारित उदारता अर्थवाहक विशेषणको सरासर दुरुपयोग हो । र, यो जीवनका मूल्यवान भाव सम्प्रेषण गर्ने खुबी भएको शब्दको फुर्मासी खर्च पनि हो । लेख्दा एक–एक शब्दलाई दुर्लभ पैसा पर्ने भए सायद उदारताको यस्तो प्रदर्शन वा शब्दको यो फुर्मासी खर्च किमार्थ नगरिँदो हो । जे होस्, मलाई नाटककार भन्नु बेकार हो । हुनलाई लाल विद्यार्थीकालमा मैले पनि नाटकहरु लेखिनटोपलेको होइन । तर, ती कथित नाटक गम्भीर साधनाका गम्भीर उपज निश्चय नै होइनन् । उष्ण आवेगी वाम विद्यार्थीहरु खासखास अवसरमा देखाउन मसँग नाटक लेखिमाग्थे । वचन हार्न नसकेर म केवल तिनको गर्जो टारिदिन यसो ख्यासख्यास केही कोरिटोपल्थेँ । ती कथित नाटक वास्तवमा कलाको कोटिमा नउक्सिएका लालित्यविहीन एवं निरस प्रचारबाजी थिए । ती जसरी हत्तपत्त लेखिए, त्यसरी नै ती अस्तित्वबाट हत्तपत्त मेटिए ।

वीरेन्द्रकालीन उन्मत्त शाही पञ्चायती राजको कुरा हो । त्यो कुत्तु राजको मनोवृत्तिलाई बेस्मारी गिज्याउँदै मैले एउटा हास्यव्यंग्य नाटक लेखेको थिएँ । अभद्रझैँ लाग्ने त्यसको शीर्षक थियो, ‘टालेको लगौँटी, फाटेको दिमाग’ । संरचना र संवादको बान्कीका दृष्टिले त्यो तैबिसेक नाटक हो कि जस्तो थियो । तर, लोकका पारखी दृष्टिमा देखिनै नपाई त्यो यसै विस्मृत भयो । यत्रो ठूलो संसारमा त्यसलाई सम्झिने केवल एक जना मानव छन्, श्री अशेष मल्ल । मलाई देख्यो कि कुशल नाट्य–निर्देशक अशेषलाई त्यो नाटकको झ्वाट्ट सम्झना आउँछ । र, भद्र मिजासी एवं मृदुभाषी अशेष भन्छन्, ‘दाइ ! यो माल मञ्चन गर्नु परो ।’ म मुसुक्क हाँस्दै सन्देहयुक्त प्रसन्नता साथ मुन्टो हल्लाउँछु । जब म ओझेल पर्छु, अशेष आफ्नो प्रस्ताव फुस्स बिर्सन्छन् । र, कुरो सहजै बुझिन्छ, अभिनय कुशल अशेषको यो अभिनय मेरो निरर्थक नाटक लेखनप्रतिको मलुवा व्यंग्य हो ।

तनहुँको डुम्रेमाथिको बन्दीपुर नगरीमा जाँदा प्रत्येकपटक मेरो एउटा नाटकको प्रसंग उठ्छ । मास्टरी गर्दाताका बन्दीपुरमै लेखिएको, बन्दीपुरमै खेलिएको र बन्दीपुरमै हराएको मेरो अभागी नाटक । त्यसको शीर्षक थियो, ‘जोबनको देउरालीमा’ । रुमानी र रसिक मार्काको झक्की शीर्षक थियो त्यो ! जब नाटक देखाइयो, बन्दीपुरमा त्यो मेरो नामको पर्याय बन्यो । कतिपय पारखी दर्शकहरुले आफ्नै ढंगले नाटकलाई अथ्र्याए । तिनले म नाटकको लेखकलाई जोबनको देउरालीमा उभ्याए । र, नाटकमा अर्को कसैलाई निमित्त नायक बनाएर म आफैँ अन्तर्जातीय पोथीको खोजीमा लागेको पो हुँ कि भनी तिनले लख काटे । त्यो लख कटाइ एकदमै अकारण त थिएन तर त्यसलाई पुष्टि गर्न मिल्ने मूर्त प्रमाण पनि थिएन ।

बन्दीपुर त्यसखबत आफ्नो चकाचौँध अतीतको पौरख र गौरव सम्झिँदै रुग्ण मनोदशामा रातदिन रोइरहेको थियो । हिजोसम्म बन्दीपुरमा जिल्लाको सदरमुकाम थियो । बहुविध गतिविधि, इलम, आर्जन र गुजाराको मुहान थियो त्यो । छँदाखाँदाको त्यस्तो गुनिलो सदरमुकाम दमौली भेगले हुल बाँधेर हल्ला गर्दै लुटेर लग्यो । लुटिएको सदरमुकाम मात्र होइन, सदरमुकामसँगै लुटियो बन्दीपुर भेगको भाग्य र भविष्य पनि । चाइनानिर्मित पक्की सडक पनि उदास बन्दीपुरलाई छलेर तलतलैबाट लुटिएको उही सदरमुकामलाई पछ्याउँदै दमौलीतिर सोझियो । छनछनी दाम टक््रयाउने ग्राहक नपाएर बन्दीपुरको व्यापार शरणार्थीका रुपमा नजिक वा टाढाका सहरहरुतिर बसाइँ सर्‍यो । धनीहरुको आर्जनको मुहान सुक्यो, गरिबहरुको कुल्ली काम गायब भयो । र, उजाड बन्दीपुर सबै वर्ग र तह–तप्काका लागि हुनुसम्म उराठलाग्दो भयो । त्यो कान्तिविहीन र शुष्क बन्दीपुरका इलमविहीन र उदास जनले मेरो नाटक ‘जोबनको देउरालीमा’बाट पलभरकै लागि भए पनि दिल बहलाए । मानौँ, नाटकको रसास्वादनको स्मृतिले बन्दीपुरको मानसमा अमरत्व प्राप्त गर्‍यो । जब म बन्दीपुर जान्छु, कतिपय रैथाने आजसम्म पनि वचनले वा भंगिमाले भन्छन्, ‘हेर, आफ्नो मायाँको मुहान सम्झेर पुरानो मास्टर आफ्नो जोबनको देउरालीमा आयो !’

नाटक भन्न मिल्ने गुणबिनाका मेरा नाटक नाउँका निकैवटा खोस्टा मुद्रित भए । अन्यत्र त कुन्नि, मदन पुरस्कार पुस्तकालयका अन्तरकुन्तरमा ती अझै फेला पर्दा हुन् । तर, नाटकजस्तो मेरो नाटक ‘जोबनको देउरालीमा’ मुद्रणको मुख देख्न नपाई हरायो । कहाँ र कसरी हरायो त्यो ? अहिले मलाई नै सम्झना छैन । सायद अलिकता मेरो लापर्बाहीले गर्दा र अलिकता बाहुबली प्रशासनको आखेटले गर्दा त्यो हरायो । यो घटना ४३ वर्षअघिको हो, ०३१ सालको । समयको इरेजरले मेटिएर मेरो नाटकका मसिना घटनाक्रम मेरै स्मृतिबाट अलप भए । अहिले मलाई नाटकको केवल मोटो कथानक याद छ । त्यो पनि कल्पित नाटकसँग प्रतीकात्मक रुपले जोडिएको मेरो जीवनको वास्तविक नाटकको कारणले । नत्र त्यो उपेक्षित र दमित नाटक सिंगै, कतै केही बाँकी नरही विस्मृतिको गर्तमा विलीन भइसक्दो हो ।

‘जोबनको देउरालीमा’ छोटो अद्र्धगीति नाटक थियो । त्यसका मूल संवाद गद्यमा थिए, त्यसका मार्मिक अंशहरु गीति लयमा थिए । नाटकको कथ्य अन्तर्जातीय प्रेम थियो, नेवार युवक र क्षत्री युवतीबीचको प्रगाढ प्रेम । नागरिकका सोच्ने दिमाग, देख्ने आँखा, बोल्ने जिब्रा र सुन्ने कान निरंकुशतन्त्रको कठोर दमनमा परेको त्यो कुकालमा नाटकमा कथित छूत र अछूतको प्रेमलाई ठाउँ दिनु बडो जोखिमपूर्ण कुरा थियो । ठाउँ दिन खोजेको भए मञ्चन गर्नै नपाई नाटक च्यातिन्थ्यो सायद । र, नाटककार बिनाकेरकार निसासलाग्दो शाही खोरमा जाकिन्थ्यो । पानी चल्ने जातबीचको प्रेमको चित्रण विषय चयनका दृष्टिले मध्यमार्ग थियो । तर, त्यही नाथे मध्यमार्गले पनि मलाई कसो शाही खोरमा नपुर्‍याएको !

म सम्झन्छु, नाटकका निर्विकल्प निर्देशक थिए, रैथाने चन्द्रलाल विश्वकर्मा । दलित अधिकारका निष्ठावान् एवं अथक अभियन्ता । नायकको भूमिकामा थिए, रौसे मास्टर भारत प्रधान । नायिकाका पिताश्रीको भूमिकामा थिए, हक्की र झोँक्की मास्टर लक्ष्मीनाथ भट्टराई । र, नायिकाको भूमिकामा थिए, अर्धनारीस्वरका स्वामी मेरा चुलबुले विद्यार्थी मिस्टर सानुकाजी । उपलक्ष्य थियो, मैले पढाउने भानु माध्यमिक विद्यालयको वार्षिकोत्सवको । सांस्कृतिक कार्यक्रम नजर गर्न सदरमुकाम दमौलीबाट प्रशासनिक कोर्राधारी सीडीओ र एलडीओ पनि आएका थिए । ती दुई सरकारी पुरुषले महेन्द्रीय गीतमा अंकित ‘बन्दीपुरे उकाली लामो’ छिचोल्न निकै पाउकष्ट गरेका थिए । बस्तीको सिंगो सेरोफेरो जुरुक्क उठेर साँझपख नाटक हेर्न विद्यालयको प्रांगणमा हाजिर भयो । नाट्यमञ्चको यो छेउ र ऊछेउमा दुईवटा मइन्टोल झल्झली बले । स्कुलमाथिको कहालीलाग्दो पहरोले धरी टड्कारै सुन्ने ढ्वाङको मुख खोलियो । र, खुला डबलीमा, थुप्रा दर्शकको उपस्थितिमा, चकमन्न वातावरणमा सुरु भयो मेरो नाटक, ‘जोबनको देउरालीमा’ ।

मञ्चमा प्रेमकथा बुनिएको नाटक चल्दो छ, प्रकृतिमा मौसम बदलिँदो छ । मानौँ, नाटकको संवेदनशील कथानकबाट करुणामयी प्रकृति द्रवित भयो र त्यसले वर्षाको औतारमा अश्रुधारा वर्षाउने लक्षण झिक्यो । नायिकाको बाबुले अन्तर्जातीय बिहेविरुद्ध विषवमन गर्दै सामन्ती गर्जन गर्‍यो, कि त म यो असनातनी प्रणयलाई भत्काइदिन्छु कि म बित्पाते छोरीको प्राणपखेरु नै नामेट पारिदिन्छु ! जब हतास नायिकाले झुन्डिन घाँटीमा डोरीको सुर्काने बेरी, परिवेश कुहिरोले डम्म ढाकियो । र, फटिक सेतो फुसफुसे कुहिरोको घुम्टोमुनि नारी दर्शकहरु सुँक्कसँुक्क रोएको करुण अवाज वायुमण्डलमा तरंगित भयो । नाटकको नायकले विनम्र लबजमा उदारता र कृपाको याचना गरेका के थिए, नायिकाका बाबु लक्ष्मीनाथ ‘तँलाई पाडा’ भन्दै उनीमाथि यसरी जाइलागे मानौँ, ठीक त्यही बेला ह्वार्र हात्तीसुँडे वर्षा नभएको भए नाट्यमञ्च सायद रक्ताम्य हुन्थ्यो । र, सके दम्भी सामन्तको उन्मादी प्रहारबाट नाटकभित्र अर्को नाटकको रचना हुन्थ्यो र रंगमञ्चमा ज्यान उठ्थ्यो !

किञ्चित उदार मानिने एलडीओ डीबी थापा दर्शकगणको अग्रभागमा सीडीओ ताराप्रसादसँगै बसेका थिए । हँसीखुसी सुन्नाराम टाइपका गुत्थ फुलेका सीडीओ ताराका अनुहारको भाव पढ्न गाह्रो थियो । तर, एलडीओ थापाले पुलकित स्वरमा प्रतिक्रिया दिए, ‘एक्सेलेन्ट डायलग !’ तर, त्यही ‘एक्सेलेन्ट’ले मलाई झन्डै बितायो । नाटकको अन्त्यतिर नायकले भनेथ्यो, ‘पुरानो बाटो पैरो गयो, नयाँ बाटो बन्न बाँकी छ ।’ शासनतन्त्रका गोटीहरुले यो संवादको लालबुझक्की पाराले अर्थ लगाए । तिनले पुरानो माने शाही पञ्चायत व्यवस्था बुझे र नयाँ माने ‘अराष्ट्रिय’ व्यवस्था भनी अथ्र्याए । म प्रशासनका आँखाको कसिंगरतुल्य थिएँ । व्यर्थमा मेरा हर क्रियाकलापको चियोचर्चाे गरिन्थ्यो । मैले बिँडी खाएर उडाएको धूवाँमा व्यवस्थाविरोधी भावनाको अभिव्यक्ति खोजिन्थ्यो । सीडीओ तारा सांस्कृतिक कार्यक्रम नजर गर्न आएका थिए कि वागी विचारको जासुसी गर्न आएका थिए, मलाई थाहा छैन । अलि दिनपछि गोबरगणेश टाइपका तारा महोदयले नाटकको निहितार्थबारे मसँग केरकार गरे । प्रत्युत्तरमा मैले भनेँ, यो केवल कथेको कथा हो श्रीमान् ! जीवनको वास्तविकतासँग यसको बाह्र हात परको साइनो पनि छैन । सीडीओले कन्चट कन्याए, नाक निमोठे, सुस्तरी सुस्केरा हाले र हान्ने अर्नाका आँखाले हेरेर मलाई एकपटकलाई फुकुवा गरिदिए ।

कल्पनाको माध्यमले यथार्थलाई वाणी दिन खोजिएको मेरो नाटकले अनेक हन्डर र ठक्करसँगै विश्राम लियो । त्यो विश्राम नाटकको पूर्ण समाप्ति थिएन । त्यो त केवल त्यसको स्थगन थियो । मेरो काल्पनिक नाटकले भूमिगत शैलीमा मेरो वास्तविक जीवनमा प्रवेश गर्‍यो र त्यसले अनेक रुमानी छटाहरुको सिर्जना गर्‍यो । आखिर भयो के ? कथा किञ्चित दुरुह छ । के मेरो कल्पित नाटक ‘जोबनको देउरालीमा’ यथार्थ लोककी परीसँग मेरो प्रणय निवेदनको प्रतीकात्मक अभिव्यक्ति थियो ? म भन्न सक्दिनँ । मेरो मस्तिष्कको सचेत तहमा त्यस्तो अभिप्राय कहीँ कतै थिएन । मेरो अवचेतनले त्यो कर्म गरेको भए म जान्दिनँ । तर, नाटकका कतिपय जिज्ञासु दर्शकले त्यही अर्थ लगाए । र, नाटकको मञ्चनपछि सुलसुले शैलीमा बजारभरि सशंकित कुरा चलखेल गर्न थाले । फलानाले फलानीलाई पट्याउने सुर झिक्यो । नाटक त देखाउने दाँत हो, चपाउने दाँत नजानिदो गरी फलानीलाई फकाउनु हो । हेर–हेर, कलमबाज पूर्वेली मास्टर कति बाठो !

बन्दीपुरमा म जुन घरमा बस्थेँ, मेरो नाटकका दर्शकको आशामा उपस्थित परी पनि त्यही घरमा बस्थिन् । म हाई स्कुलको मास्टर, उनी अस्पतालकी स्टाफ नर्स । हामी दुवै बाहिरिया । जीवनको विचित्र संयोगले हाम्रो एकै घरको बास थियो, एउटै चुल्होको गाँस थियो । उनको साथमा उनका भाइ र बहिनी थिए । ती थिए, रैथाने निमाविका विद्यार्थी । तरुण वयकी विपरीत लिंगी पोथीका हिसाबले म लक्का जवान भालेको उनीप्रति स्वाभाविक आकर्षण थियो । बस्, त्यति मात्र । मेरा दर्शकका रुमानी आशंकामा झैँ तिनलाई फकाउने र पट्याउने अभिप्राय मेरो मनको अन्तरकुन्तरमा कतै थिएन । यसको कारण थियो । अँ, कारण एक होइन, अनेक थिए । म कता हो कता पूर्वको बाहुन, उनी कता हो कता पश्चिमकी गुरसिनी । म होचो र ख्याउटे, उनी अग्ली र हृष्टपुष्ट । म पेपटिक अल्सरको फुकिढल रोगी, उनी स्वस्थ र बलिष्ठ नारी । म खासै रुपरंगरहित, उनी खास्सा रुपसी । यी यावत् भिन्नता हाम्रोबीचका अनेक अभेद्य पर्खाल थिए । भूगोलको दूरीले बनाएको एउटा पर्खाल, जातको पृथकताले बनाएको अर्को पर्खाल । कदको उचाइ र होचाइबीच खडा भएको एउटा पर्खाल, शारीरिक स्वस्थता र अस्वस्थताबीच ठडिएको अर्को पर्खाल । रुप र रंगको विपरीत बान्कीद्वारा निर्मित एउटा पर्खाल, सोचको भावनाद्वारा निर्मित अर्को पर्खाल । यता हामी दुई प्राणीबीच यतिका पर्खाल छन्, उता शंकालु जनले कति सजिलै हाम्रो प्रणय–सूत्रको गाँठो कसिसके !

मेरो कल्पित नाटकले मेरो जीवनको वास्तविक नाटकमा पारेको प्रभाव सम्झेर ल्याउँदा म त्यसै त्यसै विस्मित र पुलकित हुन्छु । यो कलाको जादुगरी प्रभावको एउटा खास्साको प्रमाण हो भन्छु म । ‘जोबनको देउरालीमा’का दर्शकहरुले मानव मनोविज्ञानको गूढ रहस्यबारे गम खाएर जे लख काटेका थिए, नभन्दै भयो पनि त्यस्तै । मेरो नाटकले एकाघरबासी परीलाई प्रणयको वेदीमा अघि सर्न आमन्त्रण गरेछ क्यार, उनका नजर, वचन र भंगिमाहरुले अब अर्कै रुप धारण गर्न थाले । नाटकले सायद उनको हृदयसँग प्रणय संवाद गर्‍यो, उनको उत्साहलाई उकास्यो र उनको आँट बढायो । अभेद्य ठानिएका जे जति पर्खालहरु थिए, ती सबै प्रेमको तुफानी शक्तिसामु गल्र्यामगुर्लुम ढले । मेरो जीवनको नाटकमा त्यसपछि जे भयो, प्रेमिल जगत्ले त्यो देखिजानेकै छ । किमधिकम् ?

बस्, जीवनमा यस्तै भयो । मेरो कल्पित नाटक दुखान्तमा तुरियो । र, मेरो वास्तविक जीवनमा परेको त्यसको सुखद प्रभावमा त्यसको स्मृतिले निरन्तरता पायो । मेरो प्रिय नाटक हरायो, र मेरो प्रिय नाटक अविस्मरणीय भयो ।

Page 60
दसैँ साहित्य

रहस्यको पोको

- चित्र बहादुर चौधरी

बाँसका झ्याङमा बास बसेका सारौँ चराका बथानले पखेटा फडफडाउँदै–चिर्बिराउँदै बिहानीको जनाउ दिन्छन् । पूर्वी क्षितिजमा पोखिने सूर्यको लालिमासँगै रुखका डालीमा बसेर आङ तन्काउँछन् । र, लाग्छन्– आफ्नो नियमित दैनिकीमा । चारो खोज्छन्, टिप्छन्, खान्छन् र स्वच्छन्द आकाशमा विचरण गर्छन् । दिनभरको थकाइ मेट्न साँझ फेरि त्यही झ्याङमा फर्किन्छन् । यी सारौँको दैनिकीभन्दा कत्ति फरक छैन, मेरो दैनिकी पनि । बिहान उठ्यो । नित्यकर्म गर्‍यो । एकछिन यताउता टहलियो । यति गर्दा–नगर्दै खाना खाने समय भइसक्छ । पिठ्यूँमा झोला भि‍र्‍यो । साइकलमा लागेको धूलो पुछ्यो । र, मुल्लाह मस्जिदका लागि निस्केजस्तै निस्कियो, ‘कपुरी क’ पढाउन ।

टीकापुर घर भएर टीकापुरबाहिर पढाउन जाने शिक्षकहरु धेरै थिए । १० जना ‘टिचर्स स्टाफ’ रहेको पथरैयाको श्री राष्ट्रिय निम्न माविमा पढाउने पाँच जना त हामी एकैतिरबाट जाने नै थियौँ । पूर्वसल्लाह त हुँदैनथ्यो । तापनि, यदाकदा सँगसँगै हुन पुग्थ्यौँ । पाँचै जनाको भेट हुन्थ्यो, दुर्गौली र टीकापुरको सीमामा रहेको चुंगी ढाँटनिर । टिरिङ... टिरिङ... साइकलको घन्टी बजाउँदै गाडीले उडाएको धूलोबाट जोगिन हातले नाकमुख छोप्दै भगतपुर–दुर्गौली हुँदै तोरैयापुर पुग्थ्यौँ । तोरैयापुर साइकल स्टप थियो हाम्रो । काम–बेकाम त्यहाँ पुग्नेबित्तिकै आफैँ ब्रेक लाग्थ्यो साइकलको । हामीले विश्राम लिँदा छोटो विश्राम पाउँथ्यो हाम्रो वसन्तीले पनि । हामी साइकललाई वसन्ती भन्थ्यौँ ।

साथीहरु पानी या यस्तै अरु केही खान्थे । जगत सर चुरोटको धूवाँले मुख धुपाउँथे । म भने सुर्ती माडेर लुँड्याउँथेँ । त्यसपछि पुन: हाम्रो यात्रा सुरु हुन्थ्यो । अगाडि चौराहा पुग्दा अलिकबेर अलमलिन्थ्यौँ, पथरैया भएर जाने कि धर्मापुर भनेर । बहुमतकै जित हुन्थ्यो । धेरै साथीहरुको मूलघर पथरैया भएकाले प्राय: त्यही बाटो भएर विद्यालय गइन्थ्यो । तर, एक्लै हुँदा मेरो रोजाइमा धर्मापुरको बाटो परिरहन्थ्यो ।

धर्मापुर भएर हिँड्नुका अनेक कारण थिए । विद्यार्थी जीवनका धेरै लँगौटिया यारहरु त्यहीँकै थिए । ती साथीहरु आफ्नो गाउँमै बस्थे । उनीहरुसँग नियमित भेटघाट हुन्थ्यो । हिँड्दा हिँड्दै राम...राम... भनेर हात मिलाउँदा बेग्लै आनन्दानुभूति हुन्थ्यो । विद्यालय जाँदा अलिक हतार नै हुन्थ्यो । घर फर्कंदाचाहिँ त्यहीँ समय बिताउँथ्यौँ, साथीहरुसँग ।रोल्पा–रुकुमबाट सल्किएको माओवादी ‘जनयुद्ध’को राप बिस्तारै कैलालीका दूरदराजका गाउँबस्ती पनि अनुभूत हुन थाल्यो । गाउँमा नौला मान्छे देखिन थालेका थिए । एकदिन नौला मान्छेले भट्टीमा झुम्ने जँड्याहाहरुलाई रक्सीको जर्किन खन्याएर नुहाइदिएको घटना सुनाए, भागीरामजीले । काम नपाएर जुवाको खालमा जम्ने जुवाडेहरुलाई तासका ५२ पत्ता एक–एक गरेर चपाउँदै निल्न लगाएका किस्सा पनि कम्ता रोचक थिएनन् ।

‘जनयुद्ध’ले समाजमा पारेको सकारात्मक–नकारात्मक प्रभावको अध्ययन मेरो रुचिको विषय थियो । तत्कालीन माओवादी निकट मानिने जनआह्वान साप्ताहिकका लागि म समाचार सुँघिरहेको हुन्थेँ । गाउँमा भेटिने माओवादी कार्यकर्ता र भागीरामजस्ता साथीले समाचारको सुराक दिने गर्थे । त्यसैले पनि मेरा गोडा धर्मापुरतिर आफँै घिसारिन्थे ।


गाउँमा नौला मान्छे र तिनको सक्रियता बढ्नु सरकारी सुरक्षा फौजलाई गाउँ प्रवेशको निम्तोपत्र पठाउनु थियो । मदिरास्नान गराएको भोलिपल्टदेखि कोही सादा पोसाकमा त कोही बर्दीमा सलहको बथानझैँ हुलका हुल सुरक्षा फौज गाउँ पस्न थाले । खानतलासीका नाममा कतिका डेहरी (अन्न भण्डार गर्ने माटो र परालबाट निर्मित भाँडो) फोरिए, कतिका आँगन र गोठ खनिए । शंकामै गिरफ्तारीमा पर्नेहरुको संख्या पनि बढ्न थाल्यो ।

एकाएक गाउँको दैनिकी फेरियो । मानिसका क्रियाकलाप फेरिए । चौराहा, चिया पसल र भट्टीमा देखिने मान्छेको झुण्ड अलप भयो । उन्मुक्त हाँसो साउतीमा बदलियो । कुनै बहानामा हुने भागीरामजीसँगका भेटघाटको त्यो क्रम पातलिँदै गयो । भेट भइहाले पनि थोरै मात्र कुराकानी हुन्थ्यो ।

भागीराम अर्थात् दुर्गौली–५, धर्मापुरका स्थायी बासिन्दा, भागीराम चौधरी । उही जमानामा आईए गरेका । चाहेको भए नोकरी पाउन कुनै समस्या थिएन । टीकापुर नगरपालिकासँगै जोडिएको पुरानो खाले पक्की घर थियो । व्यापार गर्न चाहेमा त्यहीँबाट गर्न सक्थे । आमा–बाबाका एक्ला छोरा । प्रशस्त जग्गा–जमिन । काम गर्न घरमा कमैया थिए । तर, खोइ किन, उनले गाउँको आफ्नै घरमा सानो खुद्रा व्यापार रोजे  ? बुझिनसक्नु थियो । म अहिले पनि ठान्छु, उनले समय काट्न मात्र त्यो व्यापार गरेका थिए, गरिरहेका छन् । तर, यसबारेमा न मैले कहिल्यै खोतलेँ, न उनले नै कहिल्यै केही बताए ।
विद्यालय जाँदा–आउँदा बाटोमै पर्ने उनको घर दर्के पानी पर्दा होस् कि हुरीबतास चल्दा ओत लाग्ने ठाउँ थियो, हाम्रो । उनको पसलमा सुर्ती किन्न जाँदा भएको परिचय प्रगाढ हुँदै गयो । गाह्रो–साह्रो पर्दा सहयोग गर्न कहिल्यै कन्जुस्याइँ गरेनन् । उनी साह्रै मितव्ययी थिए । घर–व्यवहारदेखि बोलीचालीमा पनि । उनका कतिपय संवाद त हिन्दी सिनेजगत्का हास्य कलाकार कादर खानका जस्ता बहुअर्थी पनि हुन्थे ।

पसलमा आउने ग्राहकसँग गरिने व्यवहार झनै अचम्मलाग्दो हुन्थ्यो । यतिसम्म कि कहिलेकाहीँ पसलमा भएको सामान छैन भनेर कसैलाई फिर्ता पनि गरिदिन्थे । ‘ऊ.. त्यहाँ छ त साहूजी’ भनेर कसैले देखाउन खोजे ‘मलाई बेच्नु छैन’ भनिदिन्थे । कुरै सक्कियो । बबुरो ग्राहक आँखा अघिल्तिरको सामान नपाएर बाटो लाग्न बाध्य हुन्थ्यो । कहिले भने उनको व्यवहार यसको ठ्याक्कै उल्टो हुन्थ्यो । सामान किनीवरी सकेर हिसाब गर्दा जब ग्राहकको दामले पुग्दैनथ्यो, उसले ‘पछि मिलाउँला’ भन्न नभ्याउँदै उनी भनिहाल्थे, ‘बाबक जिम्दारीले नाइँ पुगल तोर दुई–चार रुप्यले मोर का हुई ?’ अर्थात्, बुबाको जिम्दारीले पुगेन, तपाईंको दुई–चार रूपियाँले मलाई के हुन्छ ? यति भनेर उत्तिखेरै उनी हिसाबकिताब राफसाफ गरिदिन्थे । यी सबै उनका ‘मुड’का कुरा थिए ।


विसं ०५७ को प्रसंग हो । म विद्यालयबाट फर्कंदै थिएँ । उनी बाटोमा उभिएका थिए । मलाई देख्नेबित्तिकै ‘राम ! राम !’ गरे र मिझ्नी (दिउँसोको खाजा)मा बोलाए । सतर्कतापूर्वक चारैतिर आँखा डुलाउँदै र मलाई भित्र कुन्टी (सानो कोठा)मा लिएर गए । बस्नका लागि गुन्द्री र त्यसमाथि कम्मल ओच्छ्याइएको थियो । म घरज्वाइँ भाँतीमा विराजमान भएँ । थरीथरीका खानेकुरा आए । र, आयो मौवाको एकपाने रक्सी पनि । खानपिन सुरू भयो ।

खानपिन चलिरहेकै बेला उनले कानेखुसी शैलीमा भने, “मलाई यो समस्याबाट तपाईंबाहेक अरु कसैले पार लगाउन सक्तैन ।” कस्तो समस्या हो, मैले केही भेउ पाउन सकिरहेको थिइनँ । अलमलमा परेँ । उनी भन्दै गए, “साथीहरुले पहुरा (नासो) छाडेर गएको धेरै भयो । आजसम्म लिन आएका छैनन् । कुन दिन यसले मेरो ज्यान लिने हो ।” उनकी पत्नीले पनि सही थापिन्, “हो नि सर, कतै
अन्तै लगिदिनूस् ।”

होइन के सार्न भनिरहेका छन्, यी दम्पतीले ? म झन् अलमलिएँ । एकछिनपछि मैलिएको कपडा बेरिएको केही सामान लिएर आए । बाहिरबाट छाम्दा महिलाको गहना हुन् भनेर ठम्याउन गाह्रो थिएन । सुन र चाँदीका गहनाको त्यो पोको पाँच किलोभन्दा कम थिएन, बरु बढी नै थियो । अब मैले कुरा बुझेँ, यो गरगहनाको पोको कसैले राख्न दिएको तर लिन नआएको रहेछ । सुरक्षाकर्मीको बढ्दो चल्तीफिर्तीले भागीराम दम्पतीको डर बढाएको रहेछ । उनीहरुको पीडा मैले राम्ररी बुझेँ । र, उनीहरुप्रति मेरो सदासयता पनि थियो । तर, तत्काल मसँग पनि समस्याको समाधान थिएन । छिट्टै त्यो पोको कतै सारिदिने आश्वासन दिएँ । र, बसाइ छोट्याउँदै उठेँ ।

माओवादीका जिल्लास्तरदेखि माथिका नेताहरुसँग मेरो नियमित सम्पर्क थियो । घर पुग्नेबित्तिकै एक जनासँग भेट गरेँ । उनले जिल्ला पार्टीमा पठाउन भने । मेरो खुसीको सीमा रहेन । कतिखेर भागीरामजीलाई भेटूँ भयो । भोलिपल्ट बिहानै उनको घर पुगेँ । र, समस्याको त्यो पोकोबाट आजैदेखि मुक्ति पाउने खुसीको खबर सुनाएँ । हामीले त्यो पोको सार्ने योजना पनि बनायौँ ।
यो प्रसंगभन्दा केही महिनाअघि राजा ज्ञानेन्द्र शाहका ज्वाइँ कैलाली रामशिखरझालाका ‘सामन्त’ राजबहादुर सिंहमाथि भौतिक ‘कारबाही’ स्वरुप माओवादीले उनको घर ‘कब्जा’ गरेको थियो । त्यही क्रममा ल्याइएको सम्पत्ति हुनुपर्छ त्यो । किनभने, केही महिना वरपर माओवादीले कतै कसैको घर ‘कब्जा’ गरेको घटना भएको थिएन, सिंहको घरबाहेक । खासमा त्यो गहनाको पोको बर्दियाका रमेश चौधरी, जो माओवादी पार्टी कामका सिलसिलामा कैलालीमा सक्रिय थिए, ले ‘पछि लिन आउँछु’ भन्दै भागीरामजीलाई राख्न दिएका रहेछन् । सम्भवत: पार्टी–कामको व्यस्तताले उनी लिन आएका थिएनन् र भागीरामजीको परिवार आपत्मा परेको थियो ।

पार्टी नेताहरुसँगको मेरो सम्पर्कपछि त्यो पोको स्थानान्तरणको योजना बनाइयो । त्यस अनुसार रक्सी पिएको कम तर अभिनय बढी गरेर त्यस पोकोलाई टीकापुर बजारकै एक सम्पर्क व्यक्तिकहाँ सकुशल पु‍र्‍याइयो । यसरी एउटा मिसन सफलतापूर्वक फत्ते गरेको आफ्नो बहादुरी देखेर आफँै चकित थिएँ म ।

तर, केही समयपछि भागीरामजीलाई त्यो पोको राख्न दिने कमरेड रमेशको सुरक्षा फौजसँगको भिडन्तमा धर्मापुरकै आसपास मृत्यु भयो । उनको मृत्युसँगै त्यो गहनाको पोकोको रहस्य पनि कहिल्यै नखुल्ने गरी विलुप्त भयो । अनि, यो पनि थाहा भएन कि मैले त्यो पोको जुन व्यक्तिकहाँ पुर्‍याएको थिएँ, तिनले पार्टीलाई बुझाए या आफैँसँग राखे ! यसबीच कर्णालीमा धेरै पानी बग्यो । कतिपय कमरेडका तारामण्डल घर आलिसान भवनमा बदलिए । चिम्के घडी नपाएका नाडीमा आज राडो घडी टल्केका छन् । तर, अहिले पनि भागीरामजीको दोकानदारी उस्तै छ, मेरो दैनिकी उस्तै ।

Page 62
दसैँ साहित्य

६५५ मिसन डे ओरो

त्यो पहाड होइन । पहाड भन्न त्यसको भू उचाइ पुग्दैन । थली पनि होइन । एक हिसाबले त्यो थली र ढिस्को बीचको ठाउँ हो । न पूरै थली, न पूरै ढिस्को । म त्यहाँ एउटा घरमा बस्थेँ । पूरा ठेगाना, ६५५ मिसन डे ओरो ड्राइभ, रेडिङ, क्यालिफोर्निया ९६००३ । 

सन् २०१६, सेप्टेम्बरको दोस्रो साता हामी त्यहाँ पुगेको थियौँ, म र मेरी पत्नी । हाम्रा कान्छा छोरा उमेश भर्खरै सान्फ्रान्सिस्को नजिक बे एरियाबाट त्यहाँ सरेका थिए । रेडिङमा गर्मी थियो, नेपालगन्ज सम्झाउने । गर्मी खप्न सक्छु म । समशीतोष्ण काठमाडौँको काँठमा जन्मेहुर्के पनि गर्मीसित म डराउँदिनँ । लामखुट्टेबाहेकको गर्मी मलाई मनपर्छ । जाडोचाहिँ मेरो शत्रु हो । जाडोले कडा एलर्जी दिन्छ मलाई ।

नयाँ ठाउँ त्यसै पनि रोमाञ्चकारी हुन्छ । महानगरपालिकाभित्रको आवासक्षेत्र भए पनि त्यो ठाउँ एउटा सानो गाउँजस्तै थियो । धेरैका घर एकतले भए पनि नयाँ घरचाहिँ दुईतले थिए । हाम्रो पनि दुईतले नै थियो । ६५५ नम्बरको घरमा छोरा उमेश, बुहारी करुणा, नातिनी सोफी, नाति सोनित, धरानका आशिक राई, जावलाखेलका इन्द्र नेपाली र हामी जोईपोइ थियौँ । सायद क्यालिफोर्निया सेन्ट्रल भ्यालीको उत्तरपश्चिमको त्यो सहरमा नेपाली मूलका मानिसको कुल संख्या त्यत्ति नै थियो । चार महिनाको बसाइमा मैले अरु नेपाली भेटिनँ । राई र नेपालीलाई महिनावारी तलबमा छोरा उमेशले आफूसँगै बे एरियाबाट लगेको थियो । उमेश कार र मिनी ट्रक भाडामा लगाउने कम्पनी बजेट र एभिसका दुइटा लोकेसनको कमिसन एजेन्ट कम म्यानेजर थियो । सन् २००७ मा आएको आर्थिक मन्दीपछि बजेट र एभिस एकापसमा गाभिएका थिए ।

पाँच वर्षकी नातिनी र १८ महिनाको नातिको हेरचाह मेरी पत्नीले गर्थिन् । मचाहिँ पत्नीको सहयोगी र अंगरक्षकजस्तो थिएँ । मेरो खास परिभाषित केही काम थिएन ।टोलको पश्चिमतिर करिब तीन मिनेटको पैदल दूरीमा पहाडी बेगवान नदीझैँ चौबीसै घन्टा सुसाइरहने इन्टरइस्टेट–५ राजमार्ग छ । लामालामा ट्रक हेरेर र तिनको एकरस आवाज सुनेर म अभिभूत हुन्थेँ ।मिसन डे ओरोबाट उत्तरतिर हेर्दा सधैँ मलाई सुन्दरीजलको सम्झना हुन्थ्यो । करिब पाँच किलोमिटर उत्तरतिर हरिया पहाडका अनेक तह सिरानीझैँ बसेका देखिन्थे । दुईतिरबाट भीमकाय अजिङ्गरझँै एकर्कालाई झम्टिन आएका ती डाँडाहरुको खोँच र सेतो हिमालको सानो चोक्टो मेरो घर मूलपानीबाट देखिने जुगल हिमालको शिरजस्तै लाग्थ्यो । माउन्ट सास्ता ४ हजार ३ सय २१ दशमलव ८ मिटर उचाइ । गर्मी याम भएकाले माउन्ट सास्ता हिउँले दरालेको होचो ढिस्कोजस्तो देखिएको थियो । त्यसको टुप्पोमा एक पित्को मात्र हिउँ थियो ।
"
घरनजिकै पश्चिमपट्टि फूलचोकीजस्तै अर्को पहाड थियो । त्यो पहाडको शृंखला पश्चिमोत्तर हुँदै माउन्ट सास्तासम्म फैलिएको थियो । सेन्ट्रल भ्यालीलाई घेरेको पूर्वतिरको पहाडचाहिँ निकै टाढा थियो । त्यो आकाशजस्तै नीलो देखिन्थ्यो ।जेटल्यागको असरबाहेक केही दिनसम्म रेडिङमा मलाई अमेरिकाबोध भएन । मनमा आफ्नै गाउँ मूलपानीमै रहेको भ्रम भइरह्यो । तर, भ्रमको आयु चाँडै समाप्त भयो । म एक्लो रहेको अनुभूतिपश्चात् अतासिन थालेँ । सामाजिक सम्बन्धबाट चुँडिएको पीडाले सताउन थाल्यो ।

जब दिनहरु समयको राजमार्गबाट चिप्लिँदै गए, मेरा निम्ति रेडिङ सहरको बसाइ लामो एकान्तबासजस्तो लाग्न थाल्यो । मनोरम प्रकृति र मौसम मेरा लागि अनुकूल भए पनि आफ्नो मूलजरोबाट काटिएको थिएँ । मलाई माया–घृणा, तारिफ–गाली गर्नेहरु त्यहाँ थिएनन् । नेपालमा रहँदा समाजसँग बात मारिरहेको हुन्थेँ । समय र इतिहाससित बाझिरहेको हुन्थेँ । साहित्य र राजनीतिका ताता बहसमा भाग लिन्थेँ । पाप र धर्मका अन्तद्र्वन्द्वको बाढीमा बग्दै निकटका साथीहरुसँग सायंकालीन सांस्कृतिक उत्सवमा भाग लिन्थेँ । तर, यहाँ मेरा ती एडिक्सन छुटे । लाग्थ्यो, अचानक एउटा अम्मली नशाखोर नशालु औषधिबाट अलग्याइको कारण सिकिस्त बिरामी छ ।

म समय कटाउने केही उपाय खोज्न थालेँ । जस्तै : घरनजिकको सार्वजनिक पार्कमा जान सक्थेँ । डीभी चिट्ठे साहित्यकार साथीहरुलाई फोन गर्न सक्थेँ । आत्मीय साथी राजव यतै थियो । मदन पुरस्कार विजेता कृष्ण धरावासी यतै थिए । मलाई मन पर्ने नयाँ पुस्ताका कथाकार अनमोलमणि क्यानडामा यतैकतै थिए । वासस्थानभन्दा १० मिनेट पैदल दूरीमा रहेको सानो बजारतिर साँझमा यताउति हल्लेर घन्टौँ बिताउन सक्थेँ । त्यस्तै, नयाँ किताबसितको अन्तरंग संगत हुन सक्थ्यो । लाग्छ, स्तरीय किताब पढ्नु समय व्यवस्थापन र आत्मसन्तुष्टिको चरम अवस्था हो । मलाई लाग्दैन, यसभन्दा उत्तम बाटो संसारमा अर्को छ । लेखन–दुव्र्यसन त आफैँसँग छँदैछ । लेख्न थालेपछि समयको अस्तित्व ख्याल नै हुँदैन । उपायहरु धेरै थिए । तर....!

कहिलेकाहीँ स्थापित र पूर्वनियोजित सूत्रहरुले काम गर्दैनन् । अनगिन्ती सुगम सडकमा पनि हिँड्न मन लाग्दैन । र, वैकल्पिक बाटो खोज्न मन लाग्छ । साथीहरुसित टेलिफोने कुराकानीका सीमा थिए । मुख्य कुरा, उनीहरु फुर्सदमा हुनुपर्‍यो । पुँजीवादले नियन्त्रणमा लिएको यो अकाल उत्सवको दिक् र कालमा मलाई मात्र पायक पर्ने गरी उनीहरुको फुर्सद सहजै कहाँ मिल्नू ?

सुरुसुरुमा पार्कमा दैनिक दुईपटक जान थालेँ । एकपटक नातिलाई घुमाउन र अर्कोपटक नातिनी स्कुलबाट फर्केपछि उसलाई खेलाउन । बिदामा पार्कमा केटाकेटीसहित आएका वयस्कहरुको भीड हुन्छ । तर, भीडमा सबै एक्लाएक्लै देखिन्छन् । अलि धेर उमेरका मानिसहरु आफ्ना केटाकेटीलाई खेल्न लगाएर घन्टौँ फोनमा झुन्डिरहन्छन् । कोहीचाहिँ आत्महत्याको मुद्रामा फोनमा घोप्टिरहेका हुन्छन् ।
म चाहन्थेँ, कोही मसित कुरा गरोस् । एकर्कामा अनुभव बाँड्न सकौँ । तर, कस्तो विडम्बना ! कोही कसैलाई हेर्दैन । अरुका मुखमा हेरेर हाँस्न चाहन्छु । तर, कसैले मतिर ध्यान दिँदैनन् । त्यस्तो अवस्थाचाहिँ सधैँ रहेन ।

उपत्यकावरिपरिका पहाड हरियो रङले छोपिएका थिए । कपुर र पपलरका पातहरु अझै हरिया थिए । होचा डाँडाका घाँस खैरा भइसके पनि धूपी र देवदारका हरिया गाछीहरुले वातावरण रम्य बनाएका थिए । तर, मेरो मनमा त्यो रम्यताले ठाउँ लिन सकेन ।अक्टोबर महिनाको दोस्रो साता चल्दै थियो । सधैँझैँ बिहानको खाजा खाएर म नातिलाई स्ट्रोलरमा गुडाउँदै हाइल्यान्ड पार्कतिर लागेँ । पत्नी मलाई पछ्याउँदै थिइन् । पार्कमा केही चक्कर लगाइरहन उनलाई मन पथ्र्यो ।

पार्कमा शनिबारे भीड थियो । बच्चाले खेल्ने चिप्लेटी र पिङ कुनै खाली थिएन । नातिलाई बास्केटबल कोर्टमा कुद्न छोडेँ । ऊ मैले चाहेजस्तो के गथ्र्यो ? ऊ लडखडाउँदै हुत्तिँदै काठको ससाना टुक्रा राखेर बनाएको ठाउँतिर लाग्यो । यो ठाउँमा केटाकेटी लड्दा चोटपटक लाग्दैन । ऊ अर्को बच्चानजिक पुग्यो, जो प्लास्टिकको हलुका भकुन्डो खेलिरहेको थियो । नातिले केटालाई झम्टेर भकुन्डो खोस्यो । त्यो सानो केटो रुन थाल्यो । नातिले लिएको भकुन्डो तुरुन्तै थुतेँ र केटालाई दिएँ । तापनि, केटो रुन छोडेन, नाति पनि रुन थाल्यो । त्यसैबेला केटाकी आमा आइपुगिन् । “माफ गर्नूस् है,” मैले लजाउँदै उनलाई भनेँ । “केही छैन । केही छैन । केटाकेटी यस्तै हुन्,” उनले भनिन् ।

रोएको नाति बोकेर यताउति हल्लिन थालेँ । एकछिनमा नाति चुप भयो । त्यसपछि उसलाई मेरी पत्नीले पिङतिर लगिन् ।“तपार्इंहरु भारतीय हो ?” प्लास्टिकको भकुन्डोवाला सानो केटाकी आमाले अंग्रेजीमा सोधिन् । “होइन, हामीहरु नेपाली हौँ ।”“नेपाली ? तर, तपाईं भारतीयजस्तै पो हुनुहुन्छ ।”“हामी चीन र भारतको माझमा छौँ । कोही भारतीयजस्ता छौँ र कोही चिनियाँजस्ता । अथवा, हामीजस्तै भारतीय र चिनियाँ पनि छन् ।”“ए त्यस्तो हो ?”

एकछिनसम्म हामीले एकर्कालाई स्पष्टीकरण दिइरह्यौँ । केटीले आफ्नो नाम भिक्टोरिया पिट भनेर बताइन् । खैरी भए पनि विशेष गरी काला आँखा निकै राम्रा थिए । उनी तीन छोरा र प्रौढ बाबुसँग त्यहाँ आएकी थिइन् । कुरा गरिरहँदा उनको बाबु हामीनजिकै आए । उनको बाबु बुढ्यौलीतिर ढल्किसकेर पनि निकै सुन्दर देखिन्थे । “उहाँ नेपालबाट आउनुभएको । उहाँका छोरा र बुहारी यहीँ काम गर्छन्,” उनले आफ्नो बाबुलाई बताइन् । उनी निकै उत्साहित देखिन्थिन् । “नेपाल मैले सुनेको छु । नेपालमा कहाँ पर्छ नि घर ?”
“काठमाडौँ ।”
“ए, त्यो त प्रख्यात ठाउँ हो । बब सिगरको गीत काठमाडौँ सुन्ने धेरैलाई त्यो ठाउँबारे थाहा हुन्छ । त्यो निकै पपुलर गीत हो । मेरो जमानामा धेरै मानिस सिगरका फ्यान थिए ।”
“काठमाडौँको विषयमा भएकाले हाम्रोमा पनि अंग्रेजी गीत सुन्ने श्रोताहरुमाझ त्यो पपुलर छ । तर, के त्यो गीतलाई अमेरिकनहरुले पनि मन पराउँछन् ?”
“त्यही त भन्दैछु । उसको कन्सर्टमा त्यो गीत सुन्दा हामी धेरैले कम्मरमाथि लगाएको लुगा गुमाएका थियौँ,” मन्दमन्द हाँस्दै उनले भनिन् ।
“लुगा गुमाएको ?”
“उन्माद र आनन्दमा लुगा फुकालेर हुर्‍याएको । तर, गाउँदा ऊ धेरै चिच्याएकाले त्यो गीत मन पर्दैन होला भन्ठानेको ? नेपाली गीत मैले सुनेको छु । ती अलि मधुर र सुस्त हुन्छन् ।”
“नेपाली गीत सुन्ने अवसर कसरी पाउनुभयो ?”
“मेरो एउटा मिल्ने साथी काठमाडौँमा काम गथ्र्यो । उसले ल्याएको थियो ।”
“ऊ कहाँ काम गथ्र्यो ? अमेरिकी दूतावासमा ?”
“होइन, पिसकोर स्वयंसेवकमा ।”
भिक्टोरियाको बाबुले आफ्नो नाम डगलस पिट बताए । मास्टरीपछि अवकाशको जीवन बाँचिरहेका उनी लगभग मेरै उमेरका लाग्थे । “म पनि कुनै समय स्कुले शिक्षक थिएँ,” मैले भनेँ ।
“स्कुलमा पढाउनु ज्यादै पट्यारलाग्दो काम हो । तर, मन नपरे पनि मैले त्यसमा बिताएँ ।” नाक खुम्च्याउँदै उनले भने ।
“तर, म त्यसबेला सन्तुष्ट थिएँ । विद्यार्थीहरुमाझ म धेरै लोकप्रिय थिएँ ।”
“कति वर्ष काम गर्नुभयो ?”
“करिब सात वर्ष ।”

“त्यो त निकै छोटो अवधि हो । मैले जवानीका सबै वर्ष बच्चाहरुको संगत गरेँ । सात वर्षको शिक्षणपछिचाहिँ तपाईंले अरु के के गर्नुभयो ?”
“केही समय पत्रकारिता गरेँ । त्यसपछि राजनीति गरेँ । राजनीतिपछि फेरि पत्रकारितामा फर्किएँ । अहिले म तपाईंजस्तै छु, नाति–नातिनाको गोठालो मात्र,” म हाँसेँ ।
“तपाईं भाग्यमानी हुनुहुन्छ । जन्मेको ठाउँभन्दा यति टाढा आउन सक्नुभयो । तर, म अझै अमेरिकाबाहिर गएको छैन,” उनी गम्भीर भए ।
“तपाईंले सोचेजस्तो सुखी म छैन । यहाँ एक्लो छुजस्तो लागिरहन्छ । परिवारमै भए पनि के नपुगे नपुगेजस्तो भइरहेको छ । तर, आज म धेरै खुसी छु । यो सहरमा आएको यतिका दिनपछि आज पहिलोपटक कुनै अमेरिकनसँग यति आत्मीय कुरा गर्दैछु । यसका लागि तपाईं र विशेष गरी तपाईंकी छोरी भिक्टोरियालाई धेरै धन्यवाद !”
“हाम्रो फेरिफेरि पनि भेट हुन सक्छ । म दिनभरि फुर्सदमै रहन्छु । तपाईंलाई पनि फुर्सद हुँदा वेस्ट ब्राउनिङसम्म आउनूस् । त्यहाँ स्टारबक्स कफीसप छ । म साँझमा त्यहाँ पुग्छु । मेरा अरु साथीहरुसँग पनि चिनापर्ची हुनेछ । हामी त्यहाँ कफी खाएर कुराकानी गर्छौं । कुनैकुनै साँझ त्यहाँ वाइन र बियर पार्टी पनि गर्छौं ।”

त्यो दिन अरु धेरै कुरा भए । अमेरिकी राष्ट्रपतिको आसन्न चुनाव, त्यहाँको स्कुले शिक्षा र रेडिङको विषम हावापानी आदि इत्यादि । डगलस र भिक्टोरियसितको त्यो भेट र कुराकानीले मभित्र थुप्रिँदै गएको एकान्तको पहाडलाई भत्काएको थियो । म खुसी थिएँ ।

म त्यहाँ पुग्दा साँझ ढल्किँदै थियो । अझै कफीसप सुनसान थियो । त्यहाँ ग्राहक भन्नु म मात्र थिएँ । पसलका दुई जना कर्मचारी काउन्टरसँगै रहेको एस्प्रेस्सो कफी मेसिनको बगलमा उभिएका थिए । काउन्टरको देब्रेपट्टि चारवटा टेबुल र १६ वटा मेच राखेको सानो कक्ष थियो । काउन्टरपछाडि र्‍याकमा स्न्याक्स र अन्य खानेकुराका प्याकेटहरु राखिएका थिए । मैले सानो एक कप मिल्क कफी भनेँ र वालेटबाट १० डलरको नोट झिकेर कम्प्युटरअगाडि उभिएको होचो काँटको तर चाक्लो शरीर भएको बिक्रेतालाई दिएँ । छाँटकाँट हेर्दा लाग्थ्यो, उनी स्पेनिस मूलका हुन् ।

उनले सात डलर फिर्ता गर्दै बिल दिए । उनले बिलको अर्को हिस्सा अटोमेटेड एस्प्रेसो मेसिनअगाडिको केटोलाई दिए । बिक्रेतालाई सोधेँ, “मिस्टर पिट यहाँ आउनुहुन्छ, होइन ?”
“को पिट ? जर्ज कि डगलस ?
म यहाँ प्राय: आइरहने यी दुई
भद्रजनहरुलाई जान्दछु ।”
“उनले आफूलाई डगलस भन्थे सायद ।”
“उनी ७ बजेतिर आउलान् ।”

भित्तामा टाँसिएको क्वार्ज डिजिटल घडीमा पौने ७ बजिसकेको थियो । मैले कफीको गिलास बोकेँ र नजिकैको मेचमा आनन्दसित बसेँ ।
७ बजेसम्ममा मैले कफी रित्याइसकेको थिएँ । अब म पिट आउँछ कि भनेर आँखा तन्काउँदै कफीसपको ढोकातिर फर्किएँ ।
मेरो निम्ति प्रतीक्षा भनेको एक प्रकारको सकस हो । जब कसैलाई कुर्नुपर्ने हुन्छ, म नर्भस हुन थाल्छु । प्रतीक्षित मानिस नआएसम्म मेरो अनुहारको रङ उडेको पुरानो चित्रजस्तो हुन्छ ।
त्यस साँझ पिट आएनन् । म निराश भएर घर फर्किएँ । भोलिपल्टदेखि लगातार म कफीसपमा धाइरहेँ, हाइल्यान्ड पार्कमा भेटिएका ती अमेरिकी भलाद्मीसँग फेरि भेटिने आशामा । तर, उनी आएनन् । बरु, त्यस अवधिमा अफ्रिकी मुलुक इरिट्रिया घर भएका डेभिड अलाजारसँग मेरो चिनापर्ची भयो । उनी अफिस सकेर त्यहाँ आएका थिए र अर्को ठाउँमा काम गर्न गएकी पत्नीलाई कुरिरहेका थिए ।अलाजार दुब्लो काँटको कालो वर्णको युवक थिए । उनी कम्प्युटर इन्जिनियर रहेछन् । उनका मातापिता र दाजुहरु पनि शरणार्थी भएर यहाँ आएका रहेछन् ।

“हाम्रो देशको राष्ट्रपति इसाइक अफ्वेर्की एउटा बदनाम तानाशाह हो । उसको दमनचक्रले १० लाखभन्दा बढी इरिट्रियाइहरु निर्वासनमा छन् । उसले १० हजारभन्दा बढी आफ्ना विरोधीलाई जेलमा थुनेको छ,” उनले भने ।
“कुनै एक समय अफ्वेर्की क्रान्तिकारी माक्र्सवादी थियो होइन र ?”
“पहिले त माक्र्सवादी मात्र होइन, माओवादी नै थियो नि ! अचेल आफ्नो हातबाट सत्ता नगुमोस् भनेर आफूलाई इरिट्रियाको नम्बरी राष्ट्रवादी भन्छ । ऊ राष्ट्रवादी बनेर २२ वर्षदेखि सत्तामा छ । अनि, हामीचाहिँ अराष्ट्रवादी भएर देशविहीन शरणार्थी बनेका छौँ ।”
कुराकानीका क्रममा थाहा भयो, एलाजार पनि मेरै टोलको सामुन्ने बस्दा रहेछन् । केही दिनपछि जब बिहानबिहान छोराछोरीलाई स्कुल बस चढाउन हाइल्यान्ड पार्कअगाडि आउन थाले, उनीसित भेट हुन थाल्यो । म पनि सधैँ बिहान ठीक ७ बजे नातिनीलाई बस चढाउन त्यहाँ पुग्थेँ ।
उता दुई–तीन साता बित्दा पनि डगलस पिटसित भेट नभएपछि एक साँझ मैले स्पेनिस मूलका कफीवालालाई उनको विषयमा सोधेँ, “के उनी बसाइँ सरेर अन्त गएका त होइनन् ? खोइ त कहिल्यै भेटिएनन् ?”
“ए ऊ ? तीन सातादेखि जेलमा पो छ भन्ने अखबारमा पढेको छु,” कफीवालाले भने ।
“जेलमा ! के अपराधमा ?” म आश्चर्यचकित भएँ ।
“गाँजा लिएर पोर्टल्यान्डतिर गइरहेका बेला पुलिसले कार र एक सय पाउन्ड गाँजासहित उसलाई समातेछ । अहिले मुद्दा चल्दैछ ।”
उनको कुराले म अग्लो छानोबाट झरेको मनोदशामा पुगेँ ।
“पिट गाँजा ओसारपसार गर्दो रहेछ ? ऊ आफूलाई रिटायर्ड स्कुल शिक्षक हुँ भन्थ्यो त  ?” कालोनीलो अनुहार बनाउँदै मैले सोधेँ ।
“बाहिरबाट हेर्दा भद्र र असल देखिन्थ्यो । तर, मानिसको जातलाई बुझ्न गाह्रो छ ।” त्यसपछि उनी त्यो प्रसंग त्यहीँ अन्त्य होस् भनेर कम्प्युटरमा घोप्टिए ।
त्यसपछिका अरु केही दिन म कफीसपमा गइरहेँ । तर, अब म त्यहाँ डगलस पिटलाई होइन, केही समयअघि त्यहाँ चिनापर्ची भएका नयाँ मानिससँग भेट्न र उनीहरुसँग कुरा गर्न जान्थेँ । यही क्रममा रेडिङको चर्चित धार्मिक संस्था बेथेल चर्चमा पढ्न आएका फिजीको नागरिक जोह्न फिनाउ मेरो अर्को साथी बन्यो । ऊ एकदमै सालीन र हँसिलो थियो । उसको अनुहारको रङ पहाडे नेपालीझैँ गहुँगोरो थियो । ऊ सन् २०१३ को क्रिसमसअघि फिजीबाट यता आएको थियो र रेडिङ सहरको बासिन्दा बन्न पुगेको थियो ।

“मानिस र चराहरुको जीवनमा धेरै समानता छ । मौसम अनुसार चराहरु आफ्नो बासस्थान बदल्न उत्तरबाट दक्षिण वा दक्षिणबाट उत्तरतिर यात्रा गर्छन् । हामी पनि परिस्थिति नामको उस्तै मौसम अनुसार एक ठाउँबाट अर्को ठाउँमा पुग्छौँ,” एक साँझ उसले भन्यो ।म अभिभूत बनेर उसको ख्याउटे अनुहार हेरिरहेँ ।

“आखिर देश भन्ने कुरा पनि एउटा सुखद भ्रम रहेछ । अहिले म कति फिजियन हुँ र कति अमेरिकन हुँ, आफैँ छुट्याउन नसक्ने अवस्थामा पुगेको छु,” फेरि अर्को साँझ उसले भन्यो । ऊ हरेकपटक केही न केही मार्मिक कुरा भनिरहन्थ्यो । ऊ कहिले दार्शनिक र कहिले कविजस्तो भावुक हुन्थ्यो । फेरि कहिले ऊ सामान्य बालकजस्तो बन्थ्यो । त्यसपछि ६५५ मिसन डे ओरोको मेरो बसाइ सन्तोषजनक हुन थालेको थियो । विशेष गरी एलाजार र फिनाउसितको अन्तरंग संगतले मनभित्रको एकान्त पूरै गायब भएको थियो ।

Page 66
दसैँ साहित्य

महादेवसग वार्तालाप

- भवसागर घिमिरे

 

वाह ! काठमाडौँको बिहान, पूरै नेपाल बन्दजस्तो लाग्दो रै’छ । हावा पनि चिसो चलेको, धूलो पनि कम उडेको । गाडी पनि कम गुडेको । मज्जा आयो । अरु दिनदिनै निस्कने भएर ‘मर्निङ वाक’ गर्छन् । आफू महिना दिनमा निस्कने भएपछि हिँडेर मात्र कहाँ भो र  ? दौडनैपर्छ भन्ने भो, ‘मर्निङ रन’ । कुलेलम ठोकियो, स्याँस्याँ र फ्याँफ्याँ गर्दै ।

वाग्मतीको किनारैकिनार । जोसमा दौडदा एक जनासँग सोझै ठोक्किएपछि मात्र मैले जुत्ताको ब्रेक लगाएँ ।

‘महादेव !’
फर्केर हेरेपछि मेरो त होसले ठाउँ छोड्यो । स्वस्थानीमा पढेकै हो, हिन्दी सिरियलमा त धेरै देखेको हो, यीचाहिँ कहाँबाट आए त हउ ?
“हजुर माफ पाउँ,” मैले त आँखै देखिनँ ।
महादेवले नम्र भएर गगल्स खोल्दै भने, “सरी, मैले हो आँखा नदेखेको, निदाएछु हिँड्दा हिँड्दै ।”
म त हेरेको हेर्‍यै भएँ । महादेव हैन भनम् भने चालढाल उस्तै छन् । आँखा राताराता छन् । निधारमा काटेको खत छ । माला पनि सर्पकै छ । तर, प्लास्टिकको । छाला भने बाघको छ । तर, कपडामा पेन्टिङ गरेको । त्रिशूलमा टुप्पो फलामको छ, डन्डा काठको । जीउमा खरानी होइन, क्रिम घसेर चिल्लो पारेका छन् । कमन्डलु भिरेका उनको आधा ज्यान भने नांगै छ । नेपाली कम्पनीकै जुत्ता लगाएका । साँढेचाहिँ खोइ त ? त्यसैमाथि चढ्छन् भन्थे । पत्याउनै गाह्रो भो । तपार्इं महादेव नै हो कि ? कतै प्रहसनमा जान लाग्नुभा ?

उनले कानमा खुसुक्क भने, “म महादेवै हो, कसैलाई नभन्नू ।”“अनि, कता त एकाबिहानै लखरलखर, पशुपतिमा नसुतेर ?,” जे त पर्ला मैले पनि फ्याट्टै सोधेँ ।“मुला भक्तेहरु एकाबिहानै घन्टी बजाएर सुत्न दिँदैनन्,” महादेव जंगिए, “हिजो बाहुबली हेरेर सुत्दा बिहानको २ बज्यो । निद्रै पुग्या छैन, यसो सुत्ने ठाउँ खोज्दै हिँडेको ।” प्रभु पनि बलिउडको फ्यान रै’छन् । राती सुत्न नपाएर हो वा दुई चार सर्को तानेर हो, आँखा त पिलित्तै पाकेका आलुबखडाजस्ता । मैले भनेँ, “प्रभु सुत्न त मेरैमा गए पनि हुन्छ, फ्ल्याटमा एक्लै छु । सातफुटे पलङ छ । तर, हजुर महादेवै हो भन्ने मलाई विश्वास दिलाइदिनु पर्‍यो ।”महादेवले मलाई अचम्म मान्दै हेरे ।

“यो साँपचाहिँ किन प्लास्टिकको हो ?,” मैले सोधिहालेँ ।
“भट्टहरु डराएर ओरिजिनल राख्नै दिएनन्,” महादेवले दु:ख पोखे, “चढाएको प्रसाद क्वाप्प मुखाँ हाल्छन्, पहिलाको साँपले झन्डै टोक्देको ।” होलाझँै गरी मुन्टो हल्लाएपछि मैले अर्को प्रश्न तेर्साइहालेँ, “अनि, छालाचाहिँ बाघको थियो नि !”

मान्छे पाए त बेच्ने नेपालमा बाघको छाला पाएपछि के बाँकी राख्थे  ? गाँजा खाएर सुत्या बेलामा कुन सभासदले थुतेर लग्यो रे ! चन्दा दिएका भरमा दलालको भर्तीकेन्द्र बनेका राजनीतिक दलहरुमा बाघको छाला, गैँडाको खाग मात्र होइन, सुन तस्कर पनि अटेका छन् । नाम मात्रैको अस्पताल खोलेर डाक्टरको सर्टिफिकेट बेच्नेसम्मका मेडिकल माफिया घुसेका छन् । कालो धन चलाउनेको ठूलै चहलपहल छ । जग्गा किन्ने नाममा अर्बौंको घोटाला गर्नेहरु दलकै संरक्षणमा घायल निगममा मस्ती मार्न सक्छन् भने जाबो बाघको छाला के बाँकी राख्थे ? थुते होला भन्ने भो । बिचरा महादेवलाई पर्नु पनि ठूलै हैरानी पर्‍या रै’छ ।

“खरानीको साटो ज्यानमा क्रिम सुरु भएछ त ?” मैले सोध्न खोज्दा निद्रामा झुल्न खोजेका उनले उत्तरअघि लामो भूमिका बाँधे । दिनहुँ साउदी–कतारबाट रेमिट्यान्ससँगै गरिबको लास आउँछ । दंगा–जुलुस भइरहने नेपालमा कहिले नेताको चेपुवामा परेर पुलिस भुटिन्छन् । कहिले गुन्डाको चेपुवामा परेर सामान्य मान्छे चुटिन्छन् । औषधि खर्च बेहोर्न नसकेपछि कोही अस्पतालको छतबाट हाम फाल्छन् । रोग, भोक र शोकका कारण नचाहँदा–नचाहँदै धेरैले ज्यान फाल्छन् । मान्छे भकाभक मर्न थालेपछि घाटमा पनि पालो कुर्नैपर्ने भो । धेरै नै भीड भएपछि घाटेले आधा जल्दा–नजल्दै लास वाग्मतीमा धकेल्दिन्छन् रे ! मान्छे राम्ररी नपोलिएको त्यो दाउराबाट राम्ररी नबनेको खरानी ल्याएर दिनदिनै महादेवलाई घस्न दिँदा उनको जीउमा एलर्जी भएछ । त्यसपछि खरानी लगाउन छाडेर उनले एलर्जीको क्रिम लगाउन थालेछन् ।
मेरो मन पगाल्न उनले आफ्नो बिजोग देखाउँदै निधारको खत पनि देखाए, ‘एउटो भक्तले सिक्काले हानेर निधारमै घाउ बनाइदियो ।’

“बाफ रे ! महादेवलाई यस्तो दशा ?”
उनलाई देखेर साह्रै दया लाग्यो । उनको डमरु पनि पशुपतिको बाँदरले लिएर भागेछ । त्रिशूलको डन्डा बाँदर धपाउन त्यहाँका कर्मचारीले लगेछन् । त्यसैले श्लेषमान्तक वनबाट एउटा रुखको काण्ड काटेर त्रिशूलमा घुसारेछन् । हल्ला धेरै हुन थालेपछि दर्शन गर्न आउने एक भक्तको जुत्ता लगाएर सुत्ने कोठा खोज्न हिँडेका रहेछन् । महादेव त हुन्जस्तै लाग्ने तर साँढे, पार्वतीको कुरा सोध्नै बाँकी थियो । मैले सोध्नुअघि उनी नै बाठो भए । भनिहाले, “साँढे कहाँ गयो भनौला ? अस्ति एउटा गाईको पछि लागेर गएको फर्केको छैन । भुइँचालोपछि सिन्धुपाल्चोक राहत वितरण गर्न गएका बेलामा राम्री देखेर पार्वतीलाई को मूर्खले मुम्बई पुर्‍याएछ । इन्टरपोलमा पोल लगाको अझै पत्ता लागेको छैन ।”

महादेवले एकै सासमा दुवै उत्तर च्याट्ट पारे । देवाधिदेव महादेवको श्रीमती पनि भारत पुर्‍याएर बेच्न सक्ने चेलीबेटी बेच्ने नेपाली दलाललाई त मान्नैपर्छ । अनि, प्रभुले तेस्रो आँखा खोलेर भष्म पारिदिए हुन्थ्यो नि तिनेरुलाई, किन नखोलिबक्स्या त ? उनले भने, “मान्छे पोलेको धूवाँ अनि काठमाडाँैको धूलोले गर्दा चिप्रा धेरै निस्केर तेस्रो आँखा ट्याप्पै पारेछ । तिलगंगाका डाक्टरले झोल औषधि लेख्दिएका छन् ।”
ओहो ! महादेव आफँै समस्यामा छन् । यिनलाई लिएर डेरामा जाउँ भने म आफैँ समस्यामा पर्छु कि भन्ने पनि भो । काठमाडौँमा कोठा खोज्दै आएका मान्छेले घर लुटेर भागेका घटना धेरै छन् । किताब बेच्न आएको भन्दै घर पसेर पूरै घर बेच्देका केस पनि हनुमानढोकामा दर्ता छन् । अपराधी छुटाउन राजनीतिक दबाब दिने हनुमानहरुले गर्दा सर्वोच्च अदालतको पक्राउ आदेशपछि पनि केही कसुरदारहरु खुलेआम बरालिँदै छन् । केही जेलमा कोचिनुपर्नेहरु भने सर्वोच्चकै आदेश पाएर फूलमाला लगाएर खुलेआम छन् । यस्तो परिस्थितिमा महादेवलाई सुताउन घर ल्याएँ भन्दा मलाई पहिला त छिमेकीले मूर्ख भन्लान् भन्ने डर भो । त्यसमाथि आफूले काठमाडौँमा जोडेको एउटो पलंग र ग्यासको चुल्हो पनि बाँकी नरहला कि भन्ने संशय पनि । “प्रभु अब एउटा प्रश्न है,” मैले उनको शक्तिको अन्तिम परीक्षा लिने विचार गर्दै थिएँ, उनी जंगी हाले, “साला, मेरो सुत्ने टाइम बित्न लागिसक्यो, तेरो प्रश्न मात्र सुनेर बस्न आको हो म ?”

“नक्कली हो कि सक्कली हो नबुझी त्यसै घर कसरी लैजाउँ  ?” मैले पनि आफ्नो समस्या अनुहारमा देखाएँ । मेरो कुराले दिक्क भएका उनी तीनकुनेको पुलमुनि थुचुक्कै बसेर आँखा चिम्ले । म पनि असमन्जसमा परेँ । उनले ध्यान दृष्टिले विचार गर्न थालेछन् । म उनको निधार केलाउन थालेँ । एकैछिनमा उनी एक्कासि जुरुक्क उठे अनि बानेश्वर चोकतिर जान थाले ।

“प्रभु कता ?” महादेव फुत्कन लागे भनेर म डराउन थालेँ ।“संसद् भवनमा गएर सुत्छु,” उनले रिसाउँदै भने, “त्यहाँ दिनभर सप्पै मान्छे सुत्छन्, मलाई हल्ला हुँदैन ।”

Page 68
दसैँ साहित्य

सो टाइम : ६ से नौ

- सिपी अर्याल

‘‘तपाईंहरुकै आफ्नो सहर तौलिहवाको....’ खाना खाँदै थिएँ, माइकमा आवाज सुन्नेबित्तिकै जुरुक्कै उठेर गेटनिर आएँ । रिक्सामा चढेर बोल्ने केटो झन् जोस्सियो, ‘झंकार चलचित्र मन्दिरमा १० ओटा धमाकेदार फाइट, मजेदार गीत...’ माइक घन्किरह्यो, ‘..सुपरस्टार फाइटर हिरो मिथ्थुन, हाँ मिथ्थुन चक्रवर्तीको सिनेमा जनताकी अदालत भब्बे प्रदर्शन भइरहेछ !’

हाम्रै घरनजिक रिक्सा रोक्यो । यसको मतलब हुन्थ्यो, उसले फिल्मको पोस्टर हाम्रो घरनिरको पर्खालमा टाँस्ने भयो । खुसी भएँ । रिक्साको पछिल्लो भाग, दायाँबायाँ गरी तीनतिर घिरौँलाझैँ झुन्डिएका पोस्टरमा आक्रामक मुद्राको मिथ्थुन उभिएको थियो, उसको छेउमा सुकुमारी केटी मुस्कुराइरहेकी थिई । प्लास्टिकको झोलाभरि रहेको भातबाट एक मुठी झिकेर त्यसलाई पोस्टरमा दल्यो । पर्खालमा टाँस्यो ।“भात सेलायो, हिँड् ।” पूरै लीन भएर एकोहोरिएको थिएँ, ममीले च्याप्पै हात समाएपछि पो झस्किएँ, “फिल्म हेर्न गयो भने यसको खुट्टा भाँच्छु भन्नुभा’छ बुबाले ।” आँखा ठूला पार्दै दाहिने हातको चोर औँला मतिर नचाउनुभयो ।

जनताकी अदालतले मेरो दिल हरेर लगेको चाल पाइसकेका थिए बाआमाले । त्यसैले बाले उर्दी जारी गरेका थिए, ममीचाहिँ बाको उर्दीलाई सकभर बढाइचढाइका साथ भन्न थाल्नुभएको थियो । म भने ‘१० ओटा धमाकेदार फाइट’वाला फिल्म जसरी पनि हेर्न जाने मुडमा थिएँ । त्यसैले टिकट काट्न र हाफ टाइममा समोसा खान बाको गोजीबाट १० रुपियाँ कसरी झ्याप पार्ने ? जुक्ति ननिकाली भा’थेन ।

...

“फिल्म हेर्न नजा है । बाको भकुराइ खालास् !” स्कुल हिँड्न लाग्दा ममीले कर्के आँखा लगाउनुभयो ।
“ल के ल ?” झिज्जिएँ । पैसा झ्याप पार्न पाएकै थिइनँ, कसरी हेर्न जानू फिल्म ? सेतो सर्टको बाहुलाले निधार पुछ्दै स्कुल हिँडेँ ।
हलमा चलेको फिल्मबारे थाहा पाउन स्कुलको छतमाथि गएर हेर्नुपथ्र्यो । किनभने, झंकार चलचित्र मन्दिर र म पढ्ने सनसाइन स्कुलको दूरी एक–डेढ सय मिटर थियो सायद । हलको आँगनभरि साइकल पार्क गरिएका देखिए भने बुझ्नुपथ्र्यो, फिल्म हेर्नैपर्छ ।
भर्‍याङ चढेर क्लासमा गइरहेको थिएँ । पर्खालमा एउटा सानो प्वाल थियो । त्यसबाट अभिषेकले बाहिर हेरिरहेको रै’छ । फिल्म हेर्न जाने मेरो पार्टनर थियो, अभिषेक ।
“ओए अभिषेक !” म उसको नजिकै गएर फुसफुसाएँ । यस्सो मतिर फर्केर उतै जोतियो ऊ । केहीबेरमा टाउको हल्लाउँदै ओठ लेप्राउँदै उसले मतिर हेर्‍यो । मैले बुझेँ, ऊ फिल्म हेर्न जाँदैन । ऊ क्लासतिर सोझियो । अनि, मैले त्यही प्वालमा मुख जोतेर हलतिर हेरेँ, मिथ्थुन उस्तै
आक्रामक थियो ।
आक्रामक मिथ्थुनलाई मनभरि बोकेर दिनभर क्लासमा बसेँ मात्रै । त्यो फिल्म हेर्न पैसाको जुक्ति फुराइरहेँ । दिनभरि सोच्दा पनि केही उपाय नफुरेपछि अल्छी मान्दै घर फर्किएँ ।

...

४ बजेतिर घर आउँदा त देख्छु, टीभी कोठामा बुबा खाटमा पल्टिएर नवाब पारामा टीभी हेरिरहनुभएको । अरे !
“के भयो बुबा ? आज चाँडै आउनुभो अफिसबाट ?” ब्याग भुइँमा लडाएँ ।
“अँ ! सन्चो भएन । जा त त्यो मेरो पाइन्ट धुन दे मम्मीलाई ।” काम अह्राइहाल्नुभो ।
बुबाको मैलो पाइन्ट हातमा लिएर कोठाबाट निस्केँ । उहाँको पाइन्टको गोजीबाट कहिलेकाहीँ ठूलै ‘माछा’ झर्थे । आशले गोजी छामेँ । एउटामा कागज भेटियो । अर्को छामेँ, सुर्तीको खाली प्याकेट भेटियो । र, तेस्रो गोजीमा गएर मेरो हात टक्क रोकियो । खस्रोखस्रो कागज थियो । वरिपरि हेरेँ । कोही नदेखेपछि त्यो खस्रो कागज निकालेँ ।
१० रुपियाँको किटकिटाउनी नोट !
वाह ! ‘फस्ट डे लास्ट सो’ भए पनि हेर्न जान पाउने त भएँ तर अर्को महाविपत् आइलागेको थियो । ‘छ से नौ’ (बेलुका ६ बजेदेखि ९ बजे)को सो नै हेर्न जाने । तर, घरमा के बहाना बनाउने ?
त्यो पनि फुर्‍यो ।
बुबालाई सीधै भन्न कुन आँटले सक्नू ? धारानिर उभिनुभएको ममीलाई बुबाको मैलो पाइन्ट थमाउँदै कपाल कन्याउन थालेँ, “ममी भोलि सरले गाह्रो होमक दिनुभा’छ । म पर्बिनकोमा म्याथ सिक्न जान्छु । दुई–तीन घन्टामा आउँछु ।”
“हुन्छ,” मतिर हेर्नुभएन ममीले । मनभित्र अपार खुसी विस्फोट भयो ।
आफैँलाई मात्रै थाहा दिएर त्यसरी सुटुक्क ६ से नौको सो हेर्न जाँदा बाटोमा अभिषेकलाई देखेँ । हाम्रोभन्दा केही घर पर त थियो उसको घर । उसलाई परैबाट बोलाएँ ।
“ओए, जनताकी अदालत हेर्न जाम् बे । मसँग छ पैसा ।” गोजीको १० रुपियाँ सुटुक्क देखाएँ, “१० रुपियाँ छ । म हेराउँछु तँलाई ।” उसलाई फकाउन खोजेँ । किनभने, उसले दिउँसै नजाने संकेत गरिसकेको थियो ।
“दुइटा टिकटको आठ । अनि, बाँकी बच्यो दुई रुपियाँ । त्यसको चुरन किनेर खाएर पानी पियम्ला । जाम् बे अभिषेक, बहुत मारधाडवाला मिथ्थुनको फिल्म हो,” फकाउने प्रयास गरिरहेँ । “म जान्नँ बे । यसपछि मोहरा लगाउँछ अनि जाम्ला । सुनिल सेट्टी र अक्षय कुमारको,” उसले निर्णय सुनायो ।
“मोहरा ? सुनिल सेट्टीको ?” म एकदम उत्साहित भएँ । सुनिल सेट्टी अभिषेक र म दुवैको एकदम प्रिय हिरो । झंकारमा लागेका सुनिल सेट्टीका कुनै पनि फिल्म छोडिँदैनथ्यो । अझ, सुनिलपछि मनपर्ने अर्को हिरो अक्षय कुमार पनि थियो मोहरामा । ओहो ! जनताकी अदालतपछि मोहरा हेर्ने पक्का भयो, यदि हलमा लाग्यो भने ।
झंकारमा फिल्म रिलिज हुनेबित्तिकै कहाँ लगाउनू ! उनीहरुलाई जहिले मन लाग्यो, तहिले एक–दुई वर्षपछि लगाउँथे ।
“अँ,” अभिषेक घरतिर जान खोज्यो । “सुन्, त,” बोलाएर कानमा फुसफुसाएँ, “हाम्रो बालाई नभनेस् है म फिल्म हेर्न ग’को भनेर । पर्बिनकोमा पढ्न ग’छ भन्दिएस् ।” एउटा झूटले अर्को झूटलाई ढाक्नु त पथ्र्यो नै । अभिषेक हाँस्दै घरभित्र पस्यो ।
त्यसपछि झंकारतिर अघि बढेँ । रात्रि सो केटाकेटीले एक्लै फिल्म हेर्न जानु लगभग निषेध नै थियो । तर, हलवालालाई सिटमा मान्छे भर्नु जो हुन्थ्यो । त्यसैले औपचारिक रोकटोक थिएन । कसैले देखी पो हाल्छ कि भनेर झटपट टिकट लिन टिकटघरको झ्यालको प्वालमा हात छिराएँ र चिच्याएँ, “एक स्पेसल टिकट, और पैसा
फिर्ता दैदियो ।”
भित्रबाट उसले टिकट र बाँकी पैसा थमायो । मसँग ६ रुपियाँ बाँकी नै थियो । त्यसले मोहरा हेर्ने ‘प्लान’ बनाइहालेँ । किनभने, हलमा पस्दा पनि ‘तु चीज बडी है मस्त मस्त...’ गीत घन्किरहेको थियो । म लगभग पक्का भएँ, अर्कोपटक त्यही फिल्म लाग्छ भनेर ।
६ बजे सुरू हुने भनेको फिल्म मेरो चिमचिमे घडीले सवा ७ बजाउँदा बल्ल चलायो ।
पर्दामा देखिएको मिथ्थुन मभित्र पस्न थाल्यो । फाइटको सिन आउँदा मुड्की आफैँ कस्सिन्थ्यो !
‘हाफटाइम’ भर्खर सकिएको थियो । कसैले ठूलठूलो स्वरमा कराएको सुनियो, “बब्लु है ?”

बब्लुलाई कसैले खोज्यो । त्यसरी खोज्न आउने प्राय: घरका मान्छे हुन्थे । अहिले आएको बब्लुको बा नै थियो कि ! फिल्म हेर्न गएको थाहा पाएपछि प्राय: केटाकेटीका बा हलमै आएर मुड्क्याउँदै घर लैजान्थे ।बब्लुको चालोमालो नभेटेपछि टिकट चेक गर्ने लुरेसँग उसको बा हरेक सिटमा पुगेर खोज्न थाल्यो । फिल्म चलिरहँदा एक्कासि कोहीमाथि मुड्की बज्रिएको आवाज आयो । लौ ! बब्लुको ढाडले मुड्की भेटेछ । फिल्म रोकियो । बब्लुलाई बाले घिसारेर लैजान थाले ।

संसारमा भएजति गिनेचुनेका गाली र मुड्की बब्लुको ज्यानमा मुसलधारे वर्षाझैँ खनियो । बब्लु रोइरह्यो । उसलाई घिसार्दै घर लगे ।
रोकिएको फिल्म चलेको थिएन । किनभने, बब्लुले छाडेको नमीठो सन्नाटा कायम थियो ।
अल्लिबेरसम्म पर्दा नउज्यालिएकाले सिटी बज्न थाल्यो । ‘अरे...फिल्म चालू कर् !’ सिटीसँगै मान्छेको कर्कस आवाज आयो । फोहर गाली त कतिकति !
२० मिनेटपछि फिल्म सुचारू भयो । बब्लुको ‘ह्याङ’ बाँकी नै थियो, त्यसैले फिल्मले अब मजा दिन सकेन । त्यो रामधुलाइले मेरा करङ चिसा बनाएका थिए ।
मेरा बा पनि त्यसरी आएर मलाई घिसार्दै घर लैजाने हुन् कि भन्ने तीव्र भय थियो । डरले मरीचझैँ कक्रकिइरहेँ । डेढ घन्टा बितेपछि पर्दामा ‘द इन्ड’ लेखेको आयो ।
झटपट बाहिर निस्कन सिटबाट उठेँ । लाइट बालेर उभिएको लुरे करायो, “लड्के लोग बाहर निक्लो । सिनेमा और २० मिनेट चली । लेकिन लड्कनको देखेक् नाइ होइ ।” वयष्कका लागि थप २० मिनेट अर्को फिल्म देखाउने भन्दैछ । तर, हामी केटाकेटीले हेर्न नपाउने रे !
मलाई खुल्दुली लागिहाल्यो । के होला र त्यस्तो फिल्म जो ठूलाले हेर्ने, मैले नपाउने ?
“लड्के बाहर निक्लो !” लुरे कराइरहेकै थियो, मेरै उमेरका चार–छ केटाकेटी बाहिर निस्के । हलमा महिला थिएनन् ।
घडीमा १० को डाँडो कटिसकेको थियो । मलाई खुलदुलीले जित्यो । अनि, ढ्याके कुर्सीको मुनि ढाड लुकाएँ । मेरो छेउमा कोही थिएन । अलि पर बसेका थिए केही केटा । केही मिनेटपछि पर्दा उज्यालियो । लुरे आएर गलहत्याउँछ कि भनेर डरले बाहिर निस्केको थिइनँ ।खुलदुलीले मेरो प्राण लैजान आँट्यो । अघिल्लो सिटको चरबाट पर्दा देखिन्थ्यो । मैले त्यहीँबाट काम चलाउने मेसो गरेँ । उज्यालिएको पर्दामा केही सेकेन्डमै अनौठा दृश्य देखेँ । लौ  ! अर्कै फिल्म पो लगायो ! केटा र केटी कन्न थाले, केके गर्न थाले । एउटा आँखा चिम्म गरेर चरबाट हेरिरहेकै थिएँ । मलाई लाज लाग्यो । तर, पर्दातिर आँखा नलैजान पनि सकिनँ । हलभित्र भएका मान्छे चिच्याए, सिटी बजाए । सायद खुसी भएका हुँदा हुन् ।

लाजले रसिलो भएर पनि ढ्याके कुर्सीमुनि नै बसेर पर्दातिर हेर्दै थिएँ । १५ मिनेटजति पछि चरबाट पर्दामा देखियो, ‘द इन्ड’ । मान्छे बाहिर निस्कने सुरमा लागे । एक–दुई जना सुर्ती बनाउन प्याटप्याट गर्दै थिए । एक जना पानको बुजो लगाएर बोल्दै थियो, “बहुत मजेदार फिल्म देखेक् मौका मिलल् बाटी !”
सबै निस्केपछि म सुटुक्क निस्कौँला भन्ने सोचेको थिएँ । अचानक, लुरे करायो, “शिब् कौन है ?”
लौ मार्‍यो ! ऊ फेरि करायो, “सागरटोलवाला शिब् कौन है ?”
म कक्रिएँ । बा आएछन् । अब भकुर्छन् । मेरो ढाड भाँच्छन्, करङ छियाछिया हुनेछ, हातखुट्टा घट्टमा पिसिनेछन् ! मेरो जीवनको पनि ‘द इन्ड’ भयो । खुइय गरेँ ।
हलमा म र सायद चार–पाँच जना अझै थिए ।
लुरे चिच्याउँदै अघि बढ्यो, “शिब् कौन है ?” म त्यहीँ ढ्याके कुर्सीमुनि थिएँ ।
लुरे अलि परै थियो । निहुरी परेर लाइट बाल्यो । लौ !
मलाई देख्यो !
टर्चको तीव्र प्रकाश अब मतिर सोझियो । आँखा चिम्लिएर, घोप्टो परेको थिएँ ।
मेरो काँधमा कसैले थपथपायो ।
“उठ् ! घर हिँड् !” बुबाको आवाज सुनेँ । हेर्न सकिनँ ।
आँखामा बज्रिएको तीव्र प्रकाशले म दृष्टिविहीनझैँ भएँ ।

Page 72
नेपाल चिनौँ

नेपाल चिनौँ

 

गत वैशाख महिनामा मर्दी हिमाल बेसक्याम्पबाट कैद गरिएको माछापुच्छ्रे हिमाल । बिहानको सूर्याेदयमा १११ सेकेन्ड लामो एक्स्पोजर राखी खिचिएको यो तस्बिर नेसनल जियोग्राफिक म्यागाजिनको योर सट प्रतिस्पर्धामा समेत उत्कृष्ट भएको थियो ।
तस्बिर : गोरख विष्ट


इन्द्रजात्राको अवसर पारेर खोलिएको राजधानीको वसन्तपुरको श्वेतभैरव मन्दिर ।यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी मनाइन्छ । १२आँैदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ–मन्दिरयुक्त हनुमानढोका दरबारक्षेत्र यो जात्राको उद्गमस्थल हो । संस्कृतिविद्हरुले यो जात्रालाई सबैभन्दा पुरानो चाड पनि मानेका छन् ।
तस्बिर : संजोग मानन्धर


पर्यटकीय रुपमा विश्वमै चासो र चर्चा पाउने गरेको पोखराको उत्तरी भागमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा रहेको घान्द्रुक । कुल पर्यटकमध्ये ७५ प्रतिशत घान्दु्रक पुग्ने गरेको आँकडा छ । मोदी खोलाको शिरमा रहेको घान्द्रुक बेसीदेखि लेकसम्मै फैलिएको छ । यसलाई माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काख मानिन्छ । ढुंगे सडक र चोकका साथै ढुंगाकै छानायुक्त कलात्मक घरहरुले भरिएको बाक्लो यस बस्तीले पर्यटकलाई नलोभ्याउने कुरै भएन ।
तस्बिर : आरके अदीप्त गिरी


धादिङ जिल्लाको पृथ्वी राजमार्ग अन्तर्गत गजुरी खण्डको हवाई दृश्य । त्रिशूली नदीको किनारैकिनार दुई सय किमि लामो यो राजमार्गले पोखरा उपत्यकालाई राजधानीसँग जोड्छ ।
तस्बिर : मीन बज्राचार्य


चितवनको सौराहामा हात्ती सवार पर्यटकहरु । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यस क्षेत्रमा हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तु हेर्नु, राप्ती नदीमा डुंगा शयर गर्नु, सूर्यास्त हेर्नु, थारु संस्कृतिको अवलोकन गर्नु मुख्य आकर्षण हुन् ।
तस्बिर : विकास रौनियार


समुद्र सतहबाट २ हजार ९ सय मिटर उचाइमा रहेको मुगु जिल्लामा पर्ने नेपालको सबैभन्दा ठूलो ताल हो, रारा । यो ताल पूरै परिक्रमा गर्न सामान्यत: पाँच घन्टा लाग्छ । तालको गहिराइ १ सय ६७ मिटर छ । यो तालमा पाइने स्नो ट्राउट प्रजातिको माछा अन्यत्र कहीँ पनि पाइँदैन । यसलाई विश्वमै दुर्लभ प्रजातिको मानिएको छ ।
तस्बिर : भरतबन्धु थापा

Page 74
नोटबुक

जारी छ, भ्रष्टाचारको आन्दोलन

- सन्तोष आचार्य

सरोकारवाला शक्तिकेन्द्रहरुमा ‘कुत’ बुझाउन सक्ने र त्यसका लागि ‘ भ्रष्टाचारको बाली’ उमार्न सक्ने, यही हो योग्यता– घपलाविद् गोपाल खड्काको । ‘प्रक्रिया मिलाएर भ्रष्टाचार’ गर्न सक्ने योग्यता हो उनको । तर, कहाँ के मिलेन, आयल निगमको कार्यकारी निर्देशकबाट पदच्यूत गरिए । त्यसअघि नै नेपालले ११ भदौको अंकमा ‘काण्डकारी निर्देशक’ शीर्षकको आवरण कथामा उनका कर्तुतबारे विस्तारमा लेखेको थियो ।

भ्रष्टाचार, अनियमितता अनि बेथितिका समाचार बढी देखिन्छन्, अचेल सञ्चारमाध्यममा । ‘कसले उठाउँछ गृहमन्त्रीको पैसा’देखि ‘चलचित्र विकास बोर्डको अध्यक्ष बन्न एक करोड रूपियाँ तोकिएको’जस्ता समाचारमा अब कुनै नयाँपन रहेन । पैसाको छेलोखेलो अथाह हुने पदहरु बिक्री गरिएका सूचना पनि अब समाचार रहेनन् । यस्ता पद कसैले सित्तैँमा पाएछ भने सञ्चारमाध्यमले कुनै दिन समाचार बनाउला बरु ।

राज्यको सम्पत्ति सोहर्न मिल्ने पद बेचिएका छन्, किनिएका छन् । तर, कुरा के भने नि हजुर ! पद खरिदकर्ता मात्र ‘भ्रष्टाचारी’ हुने । ऊ नै सञ्चारमाध्यमको तारो बन्ने । तर, त्यही पद बिक्रीकर्ता पानीमाथिको ओभानो हुने ? एक हातले ताली बज्छ र ? यो प्रवृत्ति रहेसम्म अर्को गोपाल खड्का समाजमा खडा भई नै रहन्छन् । कसैले पद बिक्री पसल खोल्छ भने त्यहाँ ग्राहकको के कमी ! हो, यहीँनिर हामीकहाँ दलालको बिगबिगी छ, नवधनाढ्य बन्ने चाहनामा ।

चलनचल्तीको भाषामा खड्का शिक्षित हुन् । भारतको प्रतिष्ठित शैक्षिक संस्थाबाट इन्जिनियरिङ गरेका छन् । राम्रै इन्जिनियर पनि हुन् । तर, शिक्षाको होइन, अथाह कमाउने माद चढ्यो । अनि, उनले बाटो मोडे । विगत दुई दशकमा जोजो ‘भ्रष्टाचारी’ ठहरिए वा भनिए , उनीहरु प्राय:को शैक्षिक पृष्ठभूमि राम्रै छ । यसैले भन्न करै लाग्छ, शिक्षा केवल योग्यताको कसी होइन रहेछ, मानसिक अवस्थाको मानक पनि रहेछ ।

जहाँ सहरीकरणको कृत्रिम उभारमा देखासिकी शैलीको उपभोक्तावादी प्रवृत्ति हावी हुन्छ, त्यहाँ लोकमान सिंह कार्कीदेखि गोपाल खड्काजस्ता पात्र देखापर्नु अस्वाभाविक होइन । त्यस्तो प्रवृत्ति जहाँ बलशाली हुन्छ, त्यहाँ यस्तै पात्रहरु जन्मिने हुन् । हामी मात्र अपवाद होइनाँै । नेपाली समाजको मनोदशा के भने यस्ता पात्रले पदमा रहुन्जेल कथित सामाजिक प्रतिष्ठा पाइरहन्छन् । समाजको एउटा तप्का भ्रष्टाचार गर्नसक्ने यस्ता ‘ बहादुरहरु’को जयगान गर्दा आफ्नो पनि सम्पत्ति र प्रतिष्ठा केही बढ्छ कि भन्ने आशमा र्‍याल चुहाइरहेकै हुन्छन् ।

खड्का बर्खास्त भए । अब आयल निगमको कार्यकारी पद किनेर अर्को कुनै गोपाल आउँछ । उसले आफ्नो लगानी उठाउँछ । समाजको त्यही तप्का उसकै पछि ‘झर्ला र खाउँला’को शैलीमा फेरि दौडिन्छ । यसैले जनआन्दोलनको उभारबाट उठेका तर अहिले होलसेल मूल्यमा पद विक्रेताका रुपमा रुपान्तरित नेताहरुलाई सोध्न मन लाग्छ, ‘नेताज्यू ! भ्रष्टाचारको आन्दोलन कहिलेसम्म जारी राख्ने हो ?’

नोटबुक

दह्रो प्रहार कहिले ?

- सन्तोष आचार्य

गोपाल खड्का प्रवृत्ति शक्तिमा रहँदा समाजको ठूलो हिस्सा उसको ताबेदार बन्न तँछाडमछाड गर्छ । सामाजिक दण्डभागी हुनुपर्ने यस्ता पात्रलाई पुज्ने परम्पराजस्तै छ हामीकहाँ । यसैले भ्रष्टाचारी हुनु पनि एउटा ल्याकत ठानिन्छ । कतै हाम्रो शिक्षा–प्रणाली, हाम्रो रहनसहन, संस्कार र संस्कृतिमै भ्वाङ परेको त छैन  ? जस्तो दसैँमा मान्यजनबाट दिइने आशीर्वचनमा पनि विगत दुई दशकमा केही परिवर्तनका छनक देख्न सकिन्छ । मान्यजनले दिने आशिकमा ‘धेरै पैसा कमाएस्’ले प्रधानता पाइरहेको छ । भ्रष्टाचारीको भौतिक चमकधमक, रवाफ अनि ‘ठूला’हरुसँगको उठबसले पनि आशीर्वचनले रङ फेरेको हुन सक्छ ।

किनभने, जसरी पनि सम्पत्ति कमाउनैपर्ने र कमाउन सक्नेलाई पुज्ने हाम्रो प्रवृत्ति नै भ्रष्टाचारको मूल कारक हो । रामेश्वर खनालले ८ असोजको नेपालमा लेखेजस्तै रातारात धनकुवेर बन्ने अस्वाभाविक सपना अहिले स्वाभाविक भएको छ । जबकि, यो हाम्रो सामाजिक मान्यता नै थिएन । विगत चार दशकमा बिस्तारैबिस्तारै सामाजिक मूल्य, मान्यता र आदर्शहरु वाहियात हुँदैछन् । जसको कारणले विषमता निम्तियो, जसले थिति भताभुंग र लथालिंग बनाए, उनीहरु अझै पनि समाजमा झन्डैझन्डै पूजनीयजस्तै छन् । जस्तो: पूर्वसरकार प्रमुख एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई नै हेरौँ । मेरा नातेदारसमेत हुन् रेग्मी । विवाह, व्रतबन्धदेखि विभिन्न सामाजिक कार्यहरुमा उनलाई निम्त्याइँदा समारोहकै शोभा बढ्ने ठान्छन् मेरा नातेदार पनि । जबकि, प्रधानन्यायाधीश पदलाई ‘लियन’मा राखेर मन्त्रिपरिषद् अध्यक्ष भए, रेग्मी । उनी प्रधानन्यायाधीश हँुदा स्वयं न्याय क्षेत्र पनि चकित भएकै थियो । यो कसरी सम्भव भयो ? न्यायालयलाई गर्तमा पुर्‍याउने खेलको सुरुआत उनीबाटै भएको थियो । लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श भत्काउँदै शक्ति पृथकीकरणको सिद्धान्तलाई ठेंगा देखाउने काम उनैले गरे । समाज यस्ता प्रवृत्तिलाई आफूनजिक पाउँदा सामाजिक मर्यादा बढेको ठान्छ भने हामी कहाँ रहेछौँ ?

पश्चिमाहरुले कुनै बेला आफूलाई ‘क्याथोलिसिज्म’बाट ‘ प्रोटेस्टेन्ट’मा रुपान्तरित गरेर तडकभडक र पाखण्डबाट मुक्त गराए । जलस्रोतका जानकार दीपक ज्ञवालीले भनेजस्तै अबको हाम्रो आन्दोलन पनि त्यसमै केन्द्रित गरे के होला ? किनभने, ‘ भ्रष्टाचार जारी छ’को आन्दोलनलाई मटियामेट गर्न पनि सामाजिक जागरणमार्फत एक दह्रो प्रहार जरुरी छ ।