You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 8
सम्पादकीय

कोरोनाको नाममा कालाबजारियाको संक्रमण

- नेपाल संवाददाता

संक्रामक भाइरस कोरोनाले मानिसहरूको जीउधन असुरक्षित बनाउँदै छ । एक महिनाअघि १९ माघको नेपाल अंकमा आवरण कथा ‘संक्रामक भाइरसको सन्त्रास’ मार्फत आकलन गरेजस्तै यसका कारण अर्थतन्त्र डाँवाडोल हुने प्रारम्भिक संकेतहरू देखिइसकेका छन् । अर्थतन्त्रको मूल आधारमध्ये एक मानिएको पर्यटन क्षेत्र थलिने जोखिम बढेको छ । नेपाल भ्रमण वर्ष २०२० का थुप्रै कार्यक्रम स्थगन भएका छन् । यी सबका बीच चार वर्षअघि भारतीय नाकाबन्दीताका हामीले बेहोरेको समानान्तर अर्थतन्त्र फेरि ब्युँतिने खतरा बढेको छ । त्यस अर्थतन्त्रको ठेट नेपाली नाम हो– कालोबजारी ।
कोरोना सन्त्रासकै बीच जनताका लागि दैनिक आवश्यक वस्तुहरूले बजारमा अप्राकृतिक नयाँ मूल्य पाएका छन् । सरकारी संयन्त्रले खाद्यपदार्थ, औषधी, ग्यासलगायत वस्तुको पर्याप्त उपलब्धता रहेको भनी आश्वस्त तुल्याउन खोजेको छ । पसलहरू चहार्दा त्यस्ता आश्वासन कार्यान्वयनको अनुभूति गर्न पाइएको छैन । ५–७ रुपैयाँमा पाइने मास्कको मूल्य पत्याउनै नसकिने गरी वृद्धि भएको छ ।
संकटका बेला साथी बन्नुपर्ने निकायहरूले यो अतिचारमा कसरी काम गर्छन्, हेर्न बाँकी छ । कोरोना उद्गमस्थल चीनसहित विश्वभरबाट ३५ सयजति मानिसको ज्यान गइसकेको छ । यो भाइरस ९५ देशमा फैलिइसकेको छ । एक लाख मानिस यसबाट संक्रमित भइसकेको पुष्टि भइसकेको छ । अर्बौं जनसंख्यालाई भयाक्रान्त बनाएको भाइरसबाट नेपाल कुन बेला सिकार हुने हो भन्ने चिन्ता छँदै छ । उसमाथि नागरिकको दैनिक जीवन प्रभावित बनाउने कार्यमा कतिपय व्यापारीहरू संलग्न हुन गएका छन् । यस्तो कार्य सर्वथा निन्दनीय छ ।
कृत्रिम अभाव देखाउने व्यापारीमाथि कारबाही गर्ने चेतावनी सरकारी प्रशासनबाट आइरहे पनि नागरिकहरू ठोस कदमको पर्खाइमा छन् । सरकारले प्रत्येक दिन दुई–चार अनुगमन टोली नखटाएको होइन । तर प्रत्येक टोलमा फैलिएको कृत्रिम अभावको जालो तोड्न केही संख्याका प्रतिनिधि पर्याप्त हुँदैनन् । प्रदेश र गाउँ–नगरपालिकाका वडा स्तरसम्म जनप्रतिनिधि र कर्मचारीको अनुगमन टोली निर्माण गर्नु आवश्यक छ । तीन तहका सरकारहरू, जो नाकाबन्दी कालमा बनिसकेका थिएनन् । तिनको उपस्थिति यो संकटका बेला नागरिकले खोजेका छन् ।
विश्वभरि कोरोना आतंक फैलिइसक्दा पनि नेपालले आवश्यक सतर्कता अपनाउन सकिरहेको छैन । धन्य, अहिलेसम्म गम्भीर प्रकृतिका ‘केस’ हरू भेटिइसकेका छैनन् । याद गरौँ, कोरोनाबाट आतंकित हुनेभन्दा पनि सचेत भएर आवश्यक तयारी गर्ने हो । अनि यसको नाम दिएर उपभोक्ता लुट्न अग्रसरहरूका बारे राज्यका निकायलाई सूचना दिने, तत्काल कारबाही गर्न आग्रह गर्ने हो ।
यो संकटको घडीमा भारतीय नाकाबन्दीकालीन परराष्ट्रमन्त्री कमल थापाको सम्झना भइरहेको छ, जसले नाकाबन्दीमा समानान्तर अर्थतन्त्र चलाएर भए पनि नागरिकलाई भोकै नराखेको भनी कालाबजारियाहरूलाई धन्यवाद दिएका थिए । जनता लुटेबापत राज्यबाट दण्डित हुनु साटो तिनले उल्टै राज्यकै तालुकदारबाट ‘महँगो धन्यवाद’ पाउनुपर्ने चार वर्षअघिको विडम्बना पक्कै दोहोरिनु भएन ।

Page 9
प्रतिक्रिया

प्रतिक्रिया

राज्य संयन्त्रको दुरुपयोग
निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक हुँदा पनि स्वयं प्रधानमन्त्रीबाटै उनको बचाउ गरिनु कानुनी शासनको बर्खिलाप हो (कानुनमै चलखेल, १८ फागुन) । मन्त्रीहरुले गरेको अनियमिततामाथि डन्डा चलाउनुपर्नेमा प्रधानमन्त्रीबाटै संरक्षण गरिँदा राज्य संयन्त्रप्रति जनताको मोहभंग हुन बेर लाग्दैन ।
लोकतन्त्र भनेकै पारदर्शी शासन भएकाले निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाबाट भएका विवादास्पद शृंखलाबद्ध निर्णयका फाइल स्वतन्त्र आयोग बनाएर छानबिन गरिनुपर्छ । मन्त्रीहरुले निजी स्वार्थलाई वैधता दिन मन्त्रिपरिषद्बाट पारित गराउने नीतिगत निर्णयका फाइलमा पनि छानबिन होस् ।
- कृष्णप्रसाद कोजु
सूर्यविनायक नगरपालिका, भक्तपुर


मिति फरक परेछ
नेपाली सेनाको क्याभलरी गणमा करण चौधरीको घोडा राख्न थालेको मिति ०६८ देखि नभई ०६९ भदौदेखि हो । गौरवशमशेर राणा प्रधानसेनापति हुँदाको पालाबाट सुरु भएको जानकारी गराउँछु ।
- विज्ञानदेव पाण्डे
प्रवक्ता, नेपाली सेना

 

 

कमान्डरदेखि सिरियल क्राइमसम्‍म
Saroj @ChapagaiSaroz
बाबुराम भट्टराईको जवाफको आशा त छैन । समाचारमा आएजस्तै यदि रामहरि श्रेष्ठका हत्यारालाई ३ जना सुरक्षागार्ड उपलब्ध गराएर आफ्नो पदको दुरुपयोग त गर्नुभयो । त्योभन्दा पनि अपराधीलाई संरक्षण गरेर अक्षम्य अपराध गर्नुभयो ।

Gantabya Bihin Yatri @BHATTARAIBABU6
द्वन्द्वकालका घटना निकै पीडादायक छन् । पूर्वमाओवादीले एमालेसँग एकीकरण गरेपछि यी मुद्दा ओझेल पर्दै गए । अभियुक्तहरु खुलेआम हिँडिरहेका छन् तर नेतृत्व
यसबारे मौन छ । पीडितले न्याय कहिले पाउने ?

Hari krishna shakya @Harikrishnashky
जहाँ नगदको चलखेल छ, त्यहाँ खतरा पनि बढी नै हुन्छ । बाहिरको देखिने घाउभन्दा आफूभित्रको घाउले मानिसलाई बढी पीडा हुन्छ । न सहिदको लिस्टमा परे, न त वीरगति नै । योभन्दा दुःख के हुन्छ, परिवारजनलाई ।

सेनाले पाल्छ चौधरीको घोडा
Prem Thapa @premzorbanian
सेना व्यापार र बाहिरियाका लागि प्रयोग भइरहेको पो हो कि भन्ने प्रश्न यो खुलासाले जन्माएको छ ।

साझा पार्टीले कसका लागि माग्‍दै छ जनमतसंग्रह ?
Agandhar Subedi
कति छिटो निरपेक्षताको बचाउमा लागेको लेखक महोदय ? जनताको के चाहना छ, परीक्षण गर्दा के बिग्रिन्छ ? हिजो जनताबीच एजेन्डा बनाएर जनताले नै पारित गरेर आएको होइन, यो निरपेक्षता  ? विदेशीको लगानीमा बिकेर हाम्रा नेतागणले थोपरेको व्यवस्था हो, यो । यसलाई राख्ने वा हटाउने जनताले नै निधो गर्न पाउनुपर्छ ।

सेनाको तबेलामा चौधरीको घोडा
Bhupendra Rai
पैसा भए जे पनि गर्न पाइन्छ भन्ने कुरा हो, यो । तर यसले नेपाली सेनाको विश्वसनीयतामाथि नै प्रश्न गर्छ ।

 

नेकपा सचिवालयझित्र ओली किन बने रक्षात्मक ?
Shamser Gurmachhane
राजनीतिक अस्थिरता कायम गरी धमिलो पानीमा माछा मार्न माहिर प्रचण्ड जब नेकपा एमालेमा दलबलसहित विलय भए, तब आफ्नो अस्तित्व बचाउका लागि कुनै पनि मूल्य चुकाउन तयार छन् । प्रचण्डको महफ्वाकांक्षाकै कारण नै मुलुकले १० वर्षे सशस्त्र द्वन्द्व बेहोर्नुपर्‍यो । सोही कारण मुलुक पचासौँ वर्ष पछाडि धकेलिएको जगजाहेरै छ । यदि वर्तमान नेकपा पनि छिन्नभिन्न भए कम्बोडियामा जस्तै राजतन्त्रको पुनः उदय अवश्यम्भावी छ ।

प्रतिक्रिया

साताका ७

१. कोरोनाविरुद्ध लड्न हामी कति सक्षम ? (भिडियो)
यो असाधारण संकटको समय हो । असाधारण संकटलाई अरु बेलाका उपाय प्रयोग गरेर हुादैन । सरकारको काम गराइ अहिलेभन्दा चुस्त देखिनुपर्छ । अझै पनि के डर छ भने अहिले गरिहाल्नुपर्ने काम दुई–चार हप्ता ढिला जाने हो कि !

२. कोरोनाबाट आत्तिनु पर्दैन तर... (डा अनुप सुवेदी)
कोरोना भाइरसको संक्रमणबाट विश्वभर नै आतंक छ । अब हामीले रोगबारे जानकारी लिनुपर्छ । रोगबाट कसरी बच्ने भन्ने सिक्नुपर्छ र त्यहीअनुसार सतर्कता अपनाउनुपर्छ । सरकारले जनतालाई आश्वस्त बनाउन सके आत्तिने अवस्था रहँदैन ।

३. चेतनामा बन्देजविरुद्धको आक्रोश (सौरभ कार्की)
सरकारले हाम्रो माग सुन्नुभन्दा बढी जनताले किताबमा कर लगाउनु किन गलत हो भन्ने कुरा बुझ्न जरुरी थियो । हामी चाहन्थ्यौँ, किताबमाथिको करको विषयमा बहस होस् । हामी मानिसलाई बुझाउन चाहन्थ्यौँ कि चेतनामा बन्देज लगाएर किन सरकार उसको मात्रै भजन गाओस् भन्ने चाहन्छ ।

४. साझा पार्टीले कसका लागि माग्‍दै छ जनमतसंग्रह ? (सञ्जीव पोखरेल)
आफ्नो राजनीतिक शक्ति विस्तार गर्न र निर्वाचन जित्न पार्टीहरु आम जनताले रुचाउने वा उनीहरुको चासो रहेको कुरामा आफ्नो मत प्रस्तुत गर्छन् र निश्चित वर्ग वा समूहलाई हातमा लिएर राजनीतिक अवसर प्राप्त गर्न प्रयास गर्छन् । साझा पार्टीको घोषणापत्र अध्ययन गर्दा उसले आफ्नो विवेक सम्पूर्ण रुपमा गुमाएको प्रस्ट हुन्छ ।

५. कन्हैया कुमारविरुद्ध देशद्रोहको पुरानो मुद्दा किन ब्युँताइयो ? बुझ्नैपर्ने १० विषय
सरकारको छिस्स विरोध गरे पनि देशद्रोहको मुद्दा लगाउन सकिने ब्रिटिसकालीन कानुन भारतमा राजनीतिक प्रतिद्वन्द्वीलाई तह लगाउन प्रयोग भइरहेको छ । त्यसैको पछिल्लो उदाहरण हो– कन्हैया कुमारसहित १० जनाविरुद्ध ब्युँताइएको चार वर्ष पुरानो मुद्दा ।

६. कोरियामा रहेका नेपाली कोरोनाबाट कति सुरक्षित ?
(गणेश पौडेल)
पछिल्लो एक सातादेखि कोरिया कोरियाजस्तो छैन । कोरिया रहर हैन, कहर भएको छ, यतिबेला । यहााको सामान्य जीवनशैली अब असामान्य बनिसकेको छ । अति व्यस्त हुने सडक रित्ताप्रायः भइसकेका छन् । मेट्रो रेल अब खाली खाली गुडिरहेछन् ।

७. वुहानको कोरोना प्रकोप : गरे के हुन्न ? (लक्ष्मी लम्साल)
त्यस्ता केही अत्यावश्यक कुरा चीनले बिनाअलमल झटपट पूरा गर्न सकेको छ । महामारीका बेलामा राजनीतिक नेतृत्व, जिम्मेवार निकाय र स्रोतसाधनको परिचालन अरु मुलुकका लागि पनि उदाहरण बन्न सक्छ ।

Page 12
मुलुकबाहिर

ह्याकरलाई नै ह्याक गर्दा

- नेपाल संवाददाता

बेलायतमा हरेक वर्ष इन्टरनेट घोटाला (स्क्याम) मा सयौँ मान्छे फस्ने गरेका छन् । अधिकांश इन्टरनेट स्क्याम विदेशमा रहेका कल सेन्टरबाट सञ्चालित छन् । जिम ब्राउनिङ अहिले बेलायती नागरिकका लागि आधुनिक रविन हुडजत्तिकै छन् ।
बीबीसीडटकमको अनलाइन संस्करणका अनुसार जिमले इन्टरनेटबाट ठग्दै आएका ह्याकरको पर्दाफास गरेका हुन् । जिमले भारतको गुडगाउँमा रहेको अफिसलाई ह्याक गरे अनि ह्याकरले ठग्न लाग्दा रंगेहात पक्रे । ह्याकरहरुले कम्प्युटरमा भाइरस लाग्यो भन्दै म्यासेज पठाएर माइक्रोसफ्टको टेक्निकल सपोर्टबाट फोन गरेको भन्दै ठग्ने गरेका थिए ।
जिमले यसका लागि महिनौँ ह्याकरको सीसीटिभी फुटेज अवलोकन गरेका थिए भने ७० हजार फोन कल डाउनलोड गरेर सुनेका थिए । अमित चौहान नामक व्यक्तिले सन् २०१९ देखि नै ठग्दै ठूलै रकम कुम्ल्याउँदै आएका थिए। पीडित विदेशी हुनाले र ठगबारे पनि जानकारी नहुनाले दिल्ली प्रहरीले काम गर्न सकिरहेको छैन ।
बेलायतमा प्रत्येक महिना २१ मिलियन ठगहरुको फोन आउने गर्छ, जसमा ठगहरुले बैंक, कम्प्युटर अफिस, व्यापारिक अफिस तथा सरकारी कार्यालयबाट भएको बहाना गर्छन् । जिम भने ठगहरुका विरुद्धमा आक्रमणमा उत्रिएका हुन् । उनको तरिका गलत भए पनि उद्देश्य भने सही रहेको बीबीसीले जनाएको छ ।

त्यस बखतको नेपाल

नेपाली माटोमा विदेशी बीउको रजाइँ

- नेपाल संवाददाता

चितवनका अधिकांश किसानले
अचेल घरमा बीउ राख्न छाडेका छन् । उनीहरूसँग सामान्यतः बजारबाट कहिल्यै नकिनिने तीतेकरेलाको बीउधरि छैन । जहिलेदेखि बजारमा ‘विकासे’ भनिने वर्णशंकर बीउ पाइन थाल्यो, त्यही बेलादेखि उनीहरू बजारमै निर्भर हुन थाले ।
तर, त्यस्ता आयातीत बीउप्रति बढ्दो निर्भरता किसानका लागि महँगो सावित भएको छ । स्थानीय जातका बीउ झन्डै विस्थापित भएका छन् । किसानले साविकभन्दा बढी मूल्य तिरेर बीउ किन्नु परेको छ । त्यसमाथि बर्सेनि किन्नुपर्ने बाध्यताले त उनीहरूको ढाडै सेकेको छ । कुनै बेला आयात रोकिए खेत बाँझै रहला भन्ने डर छँदै छ । वीरेन्द्रनगर गाविस, २ वडाका रामचन्द्र अर्याल भन्छन्, ‘विकासे बीउले उत्पादन बढाए पनि किसानको आत्मनिर्भरता गुमेको छ ।’ तर, उनी आफैं चार वर्षदेखि विकासे बीउकै भरमा तरकारी खेती मात्र गरिरहेका छैनन्, बढ्दो माग देखेर कारोबारमा समेत संलग्न छन् ।
अर्कातिर, नुवाकोट दुईपीपल गाविस, झिल्टुङका गुरुदेव नेपालले धान, गहुँ र मकैजस्ता प्रमुख अन्नबालीमा समेत विकासे बीउ प्रयोग गर्न थालेका छन् ।
नेपाल, १६–३० फागुन २०५७

Page 13
परिहास

थ्यांक यु कोरोना !

- सुरेश किरण

कोरोना भाइरसले दुनियाँलाई नोक्सान पुर्‍याए पनि नेपाली कांग्रेसलाई भने राहतै दिलाएको छ । कोरोनालाई नै कारण देखाएर नेपाली कांग्रेसले भर्खरै एउटा निर्णय गरेको छ– अब पार्टीले कुनै पनि ठूलो सभा, सम्मेलनहरु नगर्ने !
यो त पार्टीका लागि ठूलो राहत पो भएछ । सरकारले जे गर्दा पनि कांग्रेसले बोलेन भन्ने गुनासो आइरहेको थियो । कोही–कोही त देशमा कांग्रेस पार्टी भन्या कुनै चरो छ कि छैन यहाँ भनेरसमेत सोध्न थालेका थिए । तर कांग्रेसले बोलेर के गर्नु ? सभा र आमसभा गरेर पनि के गर्नु ? आफ्नै कार्यकर्ता आउँदैनन् । सरकारको विरोध गर्नुपर्‍यो कि कांग्रेसलाई गोकुल बाँस्कोटाको अनुहार याद आइहाल्छ कि
क्या हो ! विरोध नगरी चुप लागिहाल्छन् । त्यसैले सरकारको विरोधमा कुनै कार्यक्रम गर्ने अवस्थासमेत पार्टीमा छैन । यस्तो अवस्थामा कोरोना आइदियो । कोरोनाले दुनियाँलाई त्राहिमाम बनाइसक्यो तर कांग्रेसलाई भने हाइसन्चो पारिदियो । आखिर कोरोनाकै निहुँ बनाएर भए पनि आमसभा–सामसभा त गरिरहनु परेन नि । अनि भएन त हाइसन्चो  ? यसका लागि कोरोनालाई थ्यांक यु किन नभन्ने ?
हालै मात्र एउटा समाचार आएको थियो, राष्ट्रिय सभामा कांग्रेस फितलो भयो रे । वास्तवमा कांग्रेस कुनचाहिँ सभामा फितलो भएको छैन र ? राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभा । सबै सभामा फितलो छ । अलि बलियो हुने भनेको उही आमसभा र कोणसभामा हो । अब त्यही आमसभा र कोणसभासमेत नगर्ने भनेपछि कांग्रेसले गर्छचाहिँ के त ?

परिहास

खराब प्रहार

- सुरेश किरण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड पुष्पकमल
दाहाल उर्फ प्रचण्डमाथि भएको जुत्ता प्रहारले म मर्माहत भएको छु । जसले प्रहार गरेको भए पनि यो राम्रो काम भने भएन । एउटा भूतपूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिमाथि जुत्ता हान्ने Û यसमा त पार्टी सतर्क हुनैपर्छ । फेरि–फेरि पनि यस्तो जुत्ता प्रहारजस्तो कार्य नहोस् । त्यसैले अब आइन्दा कमरेड प्रचण्ड जुन कार्यक्रममा जान्छन्, त्यो कार्यक्रममा जुत्ता निषेध गर्नुपर्छ । अर्थात्, कार्यक्रम स्थल जानुअघि जुत्ताचाहिँ बाहिरै फुकालेर जाने । यसो गर्‍यो भने कमरेड प्रचण्डमाथि पुनः जुत्ता प्रहारजस्तो कार्य नहोला कि ?
म यस्तै कुरा सोचिरहेको थिएँ । मित्र भजनलालले मलाई आएर भन्यो, ‘जुत्ता प्रहार एकदम गलत भएको छ ।’
विचार त मेरो पनि त्यही हो । भजनलालले भनेपछि विचार झन्
सुदृढ भयो । भनेँ, ‘हो, प्रहार एकदम गलत हो ।’
‘म त भन्छु, यो एकदम खराब प्रहार हो ।’ भजनले भन्यो ।
‘म पनि त्यही भन्छु, प्रहार खराब नै हो ।’ मैले पनि थपेँ ।
मेरो र भजनको कुरा समानान्तर हिसाबले मिलिरहेको थियो ।
‘त्यति जाबो नजिक बसेर पनि टाउकोमा निशाना लगाउन नसक्नु साह्रै खराब थियो । त्यति निशाना पनि लगाउन नसक्नेले किन हानेको होला ?’
भजनको यो लाइनपछि भने मैले बुझेँ, खराब प्रहारको हाम्रो परिभाषा अलग–अलग दिशातिर जाँदै थियो ।

 

परिहास

टेपमा तोडमरोड

- नेपाल संवाददाता

पूर्वसञ्चारमन्त्री कमरेड गोकुल बाँस्कोटाले आफ्नाबारे भनी
सार्वजनिक भएको टेप नै नक्कली भएको दाबी गरेका छन् । दाबी मात्र कहाँ हो र ! उनी त अदालतै पुगेका छन् । गोकुलको जिकिर हो, उनको आवाजमा सार्वजनिक भएको त्यो टेप नक्कली हो । त्यसमा सबै कुरा तोडमरोड गरिएको छ ।
गोकुल कमरेडको दाबी आफैँमा अनौठो थियो । मलाई सोध्न मन लाग्यो, यदि त्यो टेप नक्कली हो, सक्कली अर्कै पो छ कि ? मैले उनका एक भूतपूर्व सहयोगीलाई सोधेँ, ‘के हो कमरेड, गोकुलजी त टेपै नक्कली हो भन्छन् ।’
उनले भने, ‘हो, त्यो टेप नक्कली नै हो । त्यसमा जम्मै कुरा तोडमरोड गरिएको छ ।’
‘के तोडमरोड भएको छ ?’
उनैले भने, ‘हेर्नुस्, टेपमा मन्त्रीज्यूले ७० करोड माग्नुभएको कुरा आएको छ । त्यो कुरा नै मिल्दैन ।’
‘किन मिल्दैन ?’
‘मन्त्रीज्यूले वास्तवमा माग्नुभएको १ अर्ब हो । त्यहाँ तोडमरोड गरेर ७० करोड बनाइएको छ । पूरै झुठमुठ हो ।’
‘हो र ?’ म चकित भएँ ।
‘अनि के त ?,’ पूर्वसहयोगीले थप्दै गए, ‘त्यहाँ मन्त्रीज्यूले कर्मचारीमाथि मु... वाला शब्द प्रयोग गरेको भनिएको छ । वास्तवमा मन्त्रीज्यूले प्रयोग गर्नुभएको मा..... वाला शब्द हो । त्यो पनि तोडमरोड नै हो । यति धेरै तोडमरोड भएपछि अब अदालत जानेबाहेक अर्को विकल्प पनि रहेन नि । रह्यो त ?’
सहयोगीजीको प्रश्न मेरो नाकमा आएर ठोकियो ।

Page 14
परिहास

ओली–गौतम सांगीतिक संवाद

- सुरेश किरण

वामदेव गौतम :
गाली त पुग्यो, अब ताली मन पर्‍यो
राष्ट्रिय सभावाला एक सिट खाली मन पर्‍यो
खाली मन पर्‍यो, मलाई खाली मन पर्‍यो
केपी ओली बा एक सिट खाली मन पर्‍यो ।

केपी ओली :
सधैँ खडा बानी तिम्रो कडा मन पर्‍यो
डाङडुङ गर्ने शैली मलाई बडा मन पर्‍यो
बडा मन पर्‍यो, बानी कडा मन पर्‍यो
तैपनि मलाई भने खतिवडा मन पर्‍यो ।

झटारो

नछोड वामदेव नछोड !

- लक्ष्मण गाम्नागे

यो देशमा एउटै पार्टीको सरकार चलेको दुई वर्ष नाघिसक्यो । उद्घाटन, शिलान्यास, भेटघाट, भ्रमण, सञ्चार माध्यम जहाँ पनि एउटै प्रधानमन्त्री, एउटै मन्त्रीहरूको अनुहार हेर्दाहेर्दा हामी जनतालाई वाक्क लागिसक्यो । सरकारको परिवर्तन त हेर्न पाइएन पाइएन, राजनीतिक खिचातानी, सांसदहरूको खरिदबिक्री, गुटहरूबीचको संघर्ष, नेताहरूबीचको गाँड कोराकोर, कार्यकर्ताबीचको कुटाकुट । यस्ता कुरा पनि नहुँदा मनमा साह्रै अशान्ति भयो ।
हाम्रो यही दुःखलाई मनन गरेर होला, वर्तमान यथास्थितिको पट्यारलाग्दो वातावरणलाई चिर्दै बल्ल केही शुभ समाचार बजारमा आउन थालेका छन् । सरकार अलिअलि हल्लिन थालेको छ । सत्ताधारी पार्टीका बडेबडे नेताहरू यस्सो आपसमा पौँठेजोरी खेल्न खोज्दै छन् । सञ्चार माध्यममा पनि अलिकति हरियाली छाएको छ । राजनीतिक अशान्तिको यो वातावरणले बल्ल यो मनमा थोरै भए पनि शान्ति पलाएको छ । र, यो शान्तिका संवाहक अरू कोही नभएर दुई तिहाइ बहुमत प्राप्त राजनीतिक दलका शीर्षस्थ नेताहरू नै हुन् । पाँच वर्षसम्म यथास्थितिमा बस्नुपर्ने चिन्तालाई दूर गर्दै हामीलाई बीचैमा मनोरन्जन प्रदान गर्न अग्रसर कमरेड वामदेव र उहाँको टिमलाई हार्दिक स्वागत छ ।
वामदेवजीले ‘मलाई दुई वर्ष मात्र प्रधानमन्त्री दिए मुलुकको कायापलट गरिदिन्छु । अझ पाँच वर्ष मौका पाएँ भने त चीनलाई नै उछिनेर अघि बढ्छु’ भनेको समाचार सुनेदेखि नै उनलाई हामीले प्रधानमन्त्रीको रूपमा देख्न इच्छा गरेको हो । हामीले खोजेको नेता नै यस्तै हो । त्यसैले वामदेवजीलाई तुरुन्त अगाडि बढाउनुपर्छ । रात रहे अग्राख पलाउँछ । अब पर्खिने कुरा हुँदैन । अर्को चुनावमा पनि जनताले हराए भने के हामीले यो जुनीमा वामदेवजीलाई प्रधानमन्त्री भएको देख्नै नपाउनु ?
हे वामदेव, हामी नेपाली जनतालाई पनि तिमीलाई जस्तै यो राजनीतिक स्थिरता मनै पर्दैन । प्रतिपक्षी दललाई पनि मन पर्दैन । विदेशीहरूलाई पनि मन पर्दैन । कसैलाई मन नपर्ने यो यथास्थितिबाट मुक्त गर्न तिमीजस्तै अधीर नेताको आवश्यकता परेको छ । त्यसैले तिमीले राजनीतिमा यसैगरी बारम्बार हलचल ल्याइरहनुपर्छ । पार्टीमा भुइँचालो ल्याउँदै गर्नुपर्छ, नेताहरूलाई दौडाइरहनुपर्छ, कार्यकर्तालाई भिडाइरहनुपर्छ । सरकारलाई उठबस गराउने प्रयास जारी राख्नुपर्छ । यस्तो शक्तिशाली नेताले चुपचाप बस्नु हुँदैन, चौबीसै घन्टा शक्ति आर्जनका लागि लागिरहनुपर्छ । ढोकै नभएको ठाउँबाट सिंहदरबारभित्र पस्ने बाटो खोज्नुपर्छ । यताबाट घोचेर भ्वाङ पार्नुपर्छ, उताबाट घोचेर प्वाल पार्नुपर्छ । देश, पार्टी र जनताभन्दा माथि पुगेका नेताले आफूलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पद प्राप्त गर्नका लागि नियम–कानुन, विधान, संविधान, गुट, दल जे–जे भए पनि फेर्नुपर्छ ।
चुनाव हार्नेहरू संसद्मा छिरिसके, वामदेवले मात्रै सम्माननीय हुन नहुने भन्ने केही छैन । यस्ता सक्रिय, जुझारु, परिपक्व र बूढा नेताले अरूहरूअन्तर्गत बस्न पनि सुहाउँदैन । अरूलाई नेता मान्न पनि सुहाउँदैन । त्यसैले हे वामदेव, उठ, जाग, अघि बढ । प्रधानमन्त्री हुने सपना पालिराख, सिंहदरबार र बालुवाटारको शान्तिलाई भंग गरिराख, जनतामा तरंग ल्याइराख, मतदाताको मनलाई भरंग पारिराख, सञ्चार माध्यमलाई भरपूर मसला दिइराख, प्रतिपक्षलाई आशा देखाइराख, कम्युनिस्ट विरोधीहरूको उत्साह जगाइराख । यस्तो स्पष्ट बहुमत ल्याएका बेला पनि ठेलठाल गरेर प्रधानमन्त्री नभए कहिले हुने ? नछोड है, वामदेव नछोड ।

Page 16
सम्झना

बिनारक्तपात भोजपुर कब्जा

- गोकुल अर्याल

विसं ००७ मंसिर लाग्नासाथ उदय मिडिल स्कुलका हेडमास्टर नारदमुनि थुलुङ भोजपुर बजारको बीच भन्ज्याङमा बसेर कांग्रेस आयो–आयो भनेर हल्ला चलाउँथे । त्यो भनेको भोजपुर सदरमुकाम कब्जा गर्नु रहेछ । हामी सानो कक्षाका विद्यार्थी भएकाले त्यसको सुइँको अलिअलि मात्र पाउँथ्यौँ । उनले भोजपुर बजारको डेरामा अवकाशप्राप्त ब्रिटिस सैनिकसँग मिलेर क्रान्तिको रणनीति बनाएका रहेछन् ।
बडाहाकिम कर्णेल भक्तबहादुर खड्का भने बाहिरबाट मात्र आक्रमण होला भनेर त्रसित थिए । बडाहाकिमकै अनुरोधमा केन्द्रले माल अड्डा लुटपाट रोक्न गाउँलेलाई पनि अनिवार्य रुपमा पालोपहरा दिन आदेश जारी गरेको थियो ।
२४ मंसिरमा दिक्तेल थुम पहरा दिने पालो नारदमुनिको थियो । माल रुंग्ने पालो पर्ने दिन भोजपुर बजारमा हाट लागेको थियो । बडाहाकिमले शंका नगरुन् भनी नारदमुनिलगायतले मुक्ति सेनामा आबद्ध सबैलाई भोजपुर कब्जाका लागि २० मंसिरमै निर्देशन दिइसकेका थिए ।
नभन्दै २४ मंसिर बिहान नारदमुनिका बहिनीज्वाइँ श्रीपाल राई, रामप्रसाद राई, मुगाधन राईलगायतले माल अड्डाका दुई जना सैनिकलाई ब्ल्यांक फायर गर्दै नियन्त्रणमा लिए । भोजपुर टुँडिखेल वरपर मुक्ति सेना तम्तयारी अवस्थामा थियो । हाटबजारमा आएकाहरु भागाभाग भए ।
मुक्ति सेनाले माल अड्डा कब्जामा लिएपछि मात्र बडाहाकिम खड्काले चाल पाए । माल अड्डासँगै हाम्रै घर छेउको अदालत, गोश्वारालगायत सरकारी कार्यालय मुक्ति सेनाको नियन्त्रणमा पुगे ।
त्यसपछि बडाहाकिमले के भयो मास्टर भनेर नारदमुनिलाई सोधेछन् । बडाहाकिमले आफूसँगको बाह्रबोर बन्दुक पनि उनैलाई दिएछन् । बडाहाकिमको बन्दुक नारदमुनिको हातमा पुगेपछि बिनारक्तपात भोजपुर कब्जा भइहाल्यो ।
नारदमुनिले बडाहाकिमलाई आफूहरुले भोजपुर कब्जा गरेको जानकारी दिनासाथ सेना र कर्मचारी भागाभाग भए । नारदमुनि स्वयंले बडाहाकिमलाई फिपा (लुगामा बट्टा छाप लगाउने) कहाँ लुक्न सुझाए । भोजपुर कब्जाको पहिलो सूचना कांग्रेसले विराटनगरमा खोलेको प्रजातन्त्र रेडियोले दिएको थियो ।
सदरमुकाम कब्जापछि नारदमुनिहरुले सरकारी कर्मचारी र सेनालाई श्री ३ को सट्टा अबदेखि सामयिक सरकारको नाममा शासन चल्ने आदेश दिए । राणा सरकारले काठमाडौँबाट थप सैनिक पठाउने आशंकामा नारदमुनिले गाउँमा भएका भरुवालगायत बन्दुक जिम्मा लगाउन सामयिक सरकारको नाममा आदेश जारी गरे ।
भोजपुर कब्जापछि नारदमुनिले ओखलढुंगा कब्जामा लिन मुगाधन राईको नेतृत्वमा मुक्ति सेना खटाए । रामप्रसाद राई खोटाङमा नेपाली सेनाका लप्टन थिए । त्यतिबेला लप्टन भनेको बडाहाकिमजस्तो हुन्थ्यो । तर उनको जागिर खोसुवामा परेपछि नारदमुनितिर लागे । भोजपुर कब्जामा मुक्ति सेनाको नेतृत्व नारदमुनिले लिए पनि युद्धको अग्र भागमा रामप्रसाद राई रहे ।
००७ को क्रान्तिमा भोजपुरे मुक्ति सेनाले पूर्वका अधिकांश स्थान र पूर्व २ नम्बरको रामेछापसम्म आफ्नो उपस्थिति जनायो । पछि विराटनगर कब्जाका लागि पनि गयो । नारदमुनिले भोजपुरे मुक्ति सेनालाई काठमाडौँ कब्जा गर्ने रणनीतिअनुसार काभ्रेको धुलिखेलसम्म पठाए । भोजपुरमा व्यापार व्यवसाय चलाएर बसेका धुलिखेलवासीले मुक्ति सेनालाई खानपिनको बन्दोबस्त गरे । त्यही बेला दिल्ली सम्झौता भएपछि भोजपुरे मुक्ति सेना काठमाडौँ आक्रमण नगरी आ–आफ्नो मुकाम फर्कियो ।
००७ पछि बनेको राणा–कांग्रेस सरकार विघटन भएसँगै नारदमुनि ००८ मा मातृकाप्रसाद कोइरालाको सरकारमा रक्षामन्त्रीसमेत भए । नारदमुनिले खोलेको स्कुलमा सुरुमा विद्यार्थी र पछि मास्टर भएकाले उनीसँग मेरो चिनापर्ची हुने नै भयो । कांग्रेस पार्टीभित्रको किचलोका कारण ०१५ मा उनलाई भोजपुरबाट टिकट दिइएन र ओखलढुंगाको ऐँसेलुखर्क निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिए । नारदमुनिलाई जिताउन म पनि उनीसँगै ओखलढुंगामा क्रियाशील भएँ । तर उक्त निर्वाचनमा उनले पराजय बेहोरे ।
००७ सालको भोजपुर कब्जामा म प्रत्यक्ष सामेल भइनँ तर विश्व प्रधान, रुद्र प्रधानलगायत पारिवारिक सदस्यले नारदमुनिहरुलाई सघाएका थिए ।

Page 17
हाम्रो नेपालमा

कमलको जरा चुँडाल्ने संघर्ष

- हरि गौतम

फागुन मसान्तदेखि वैशाखसम्म कमलको जरा निकाल्ने याम हो । त्यसैले यतिबेला सिस्ने–५ रुकुमकोटस्थित कमल दहमा दैनिक ठूलो भीड छ । पछिल्ला केही वर्ष देशका विभिन्न ठाउाबाट यसको खोजीमा मान्छेहरू रुकुमकोट पुगिरहेका छन् । यो समय कमल दह हेर्नेहरू मात्रै होइन, अरू कामले पनि जम्मा हुनेको संख्या धेरै छ । पानीमा फुल्ने कमलको फूल हेर्दा जति सुन्दर हुन्छ, त्यसको फाइदा पनि त्यत्तिकै ।
कमलको जराको अचार स्वादिष्ट मानिन्छ । जरा ताछेर बनाइएका चाना पछिसम्म पनि अचारको रूपमा प्रयोग गर्न सकिन्छ । हाल दहमा कमलको जरा निकाल्ने, खरिद गर्ने र त्यो दृश्य हेर्नेको भीड बाक्लै हुन्छ । तीन वर्षदेखि सिस्ने गाउापालिकाले टेन्डरमार्फत कमलको जरा निकालेर बिक्री गरिरहेको छ । टेन्डर लिएका ठेकेदारलाई एक दिनमा पुरुषले ६ सय र महिलाले ४ सय रुपैयाा तिरेपछि दिनभर कमलको जरा निकाल्ने अनुमति पाउाछन् । उनीहरू आफौले निकालेको जरा आफौ मूल्य राखेर बेच्छन् ।
कमलको जरा निकाल्ने याम फागुनदेखि वैशाखसम्म भए पनि गाउापालिकाले चैत पहिलो सातासम्मका लागि मात्रै अनुमति दिएको छ । जरा निकाल्नु जोखिम हुन्छ । दहभित्र पसेर कमलको जरा खुट्टाको सहायताले फेला
पार्नुपर्छ । केही सेकेन्ड पानीभित्रै डुबेर जरा निकाल्ने गरिन्छ । पौडादै छाम्ने र जरा भेटिएपछि मात्रै आफू डुबेर त्यसलाई बाहिर निकालिन्छ ।
यो याम स्थानीयका लागि आम्दानी लिने समय पनि हो । कमलको जरा निकाल्न सक्नेहरूले दैनिक २ देखि ६ हजारसम्म आम्दानी गर्छन् । कमलको जरा तौलेर वा नापेरभन्दा पनि अनुमानको भरमा बिक्री हुने गर्छ । एक दिनमा ६ सय तिरेर ६ हजारभन्दा बढी कमाउने स्थानीय पनि छन् । हरेक वर्ष कमलको जरा निकाल्दा त्यो जरा अर्को वर्ष थप फैलने स्थानीयको बुझाइ छ । कमलको कााचो जरा, फल र पात जन्डिसका लागि उपयुक्त हुने भएकाले पछिल्लो समय यसको बिक्री बढेको छ ।

Page 19
प्रदेश २

ट्राफिक प्रहरीको मागेरै गुजारा

राजमार्गका जनचेतनामूलक सामग्री, ट्राफिक संकेत बोर्ड, स्टिकर, टल्कने ज्याकेटमा समेत दाताकै भर
- राजकुमार राउत

सप्तरीको कल्याणपुरमा सौजन्य लेखेको ज्याकेट लगाएर ड्युटी गर्दै एक ट्राफिक प्रहरी 

फागुन तेस्रो साता क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया (बारा) का प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम महतोले प्रदेश २ मा दैनिक दुई जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको कहालीलाग्दो तथ्यांक प्रस्तुत गरे ।
एसपी महतोले लहानमा पत्रकार सम्मेलन गर्दै सवारी दुर्घटनाको विवरण मात्र सार्वजनिक गरेनन्, यस्तै अवस्था रहे र सबैको साथ नमिले दुर्घटना न्यूनीकरण हुनुको सट्टा अझ बढेर जाने दाबीसमेत गरे । “जोसँग इच्छा छ, त्योसँग बजेट छैन,” महतो भन्छन्, “जोसँग बजेट छ, तिनले कामै गर्दैनन् ।” सवारी दुर्घटनाको डरलाग्दो अवस्था हुँदा पनि प्रदेश २ को ट्राफिक प्रहरीले न्यूनीकरण गर्न सकेको छैन ।
केही समयअघि बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री केपी ओलीले सरोकारवालालाई न्यूनीकरण गर्न आदेश दिएका थिए । “सवारी दुर्घटना न्यूनीकरण गर्न प्रधानमन्त्रीले आदेश दिए पनि ट्राफिक प्रहरीलाई सरकारले एक पैसा बजेट दिएको छैन,” महतोको गुनासो छ, “दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुपर्दा निजी कम्पनी वा व्यक्तिसँग सहयोगको हात फैलाउनुपर्ने अवस्था छ । ट्राफिक प्रहरीले राज्यको बजेटबाट नभई अरूसँग मागेर गुजारा चलाउनुपर्ने अवस्थाको अन्त्य जरुरी छ ।”
कतिसम्म भने राजमार्गका जनचेतनामूलक सामग्री, ट्राफिक संकेत बोर्ड, स्टिकर सबै अरूसँगै मागेर चल्नु परेको छ । ट्राफिक प्रहरीले रकम अभावकै कारण होर्डिङबोर्ड, बारा, पथलैया सडकमा ड्युटीमा रहँदा प्रहरीले लगाउने टल्कने ज्याकेटमा समेत सौजन्य गरेको कम्पनीको नाम लेख्नुपर्ने अवस्था छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेन कुनै गाडी राजमार्गमा सवारी दुर्घटना गरेर फरार भए उक्त गाडी रोक्ने बारसमेत ट्राफिक प्रहरीसँग नभएको सुनाउँछन् । “दुर्घटना गरेर भागेको गाडी नियन्त्रणमा लिनसमेत ट्राफिक प्रहरीसँग सवारी साधन छैन,” एक्तेन भन्छन्, “पहिलो संविधानसभा निर्वाचनमा दिएको थोत्रो गाडी रहे पनि भनेको बेला स्टार्ट नै हुँदैन । सरकारले गाडी मर्मतको पैसा पनि दिँदैन ।”
दुर्घटना न्यूनीकरणसम्बन्धी कुनै कार्यक्रम गर्नुपर्‍यो भने अरूसँग हात फैलाउनुबाहेक अरू विकल्प नरहेको एक्तेन बताउँछन् । सवारी व्यवस्थापनका लागि पर्याप्त जनशक्ति नभएकाले ट्राफिक प्रहरी एक्लैले मात्र दुर्घटना न्यूनीकरण गर्न सम्भव नहुने उनको धारणा छ ।


जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीका प्रमुख उत्तम कार्की राजमार्गमा दुर्घटना भएर सर्वसाधारणको ज्यान गए ट्राफिक प्रहरीलाई मात्र दोषी देखाउने गरिएको दुखेसो पोख्छन् । भन्छन्, “दुर्घटना न्यूनीकरणमा सडक डिभिजन, यातायात कार्यालयहरूलाई पनि जिम्मेवार बनाउनुपर्छ ।”
राजमार्गमा रोड मार्कर, जनचेतनामूलक ट्राफिक संकेत अंकित बोर्ड बनाउन पनि चन्दादाताको सहयोग लिनुपर्ने अवस्थाका कारण सडक दुर्घटना न्यूनीकरण हुन नसकेको उनको तर्क छ । ट्राफिक प्रहरीलाई साधनसम्पन्न बनाउन र सडकमा रोड मार्करका लागि आएको बजेट सदुपयोग भए मात्र रात्रिको समय हुने दुर्घटना कम गर्न सकिने कार्की बताउँछन् । भन्छन्, “यातायात कार्यालयमा गाडी नवीकरण गर्दा यान्त्रिक जाँच गरेर जाँचपास गर्नुपर्नेमा कर्मचारीले पैसा लिएर गाडीको अवस्था नहेर्ने प्रवृत्तिका कारण पनि दुर्घटना भई सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको छ ।”


जिल्लाका एसपीहरूले ट्राफिक प्रहरीका निम्ति आउने दैनिक सात लिटर तेल गाडी मर्मतसम्भारको रकम गोलमाल गर्ने हुँदा आफूहरूले अरूसँग तेल मागेरै गाडी कुदाउनु परेको बाराका एक ट्राफिक प्रहरी निरीक्षकको दाबी छ । भन्छन्, “ट्राफिकले बजेट चलाउन पाउँदैन । जिल्ला प्रहरी कार्यालयबाट ट्राफिकको बजेट चल्छ ।”
सडक डिभिजन कार्यालय लहानका प्रमुख रवीन्द्रलाल दास रोड फर्निचर, रोड मार्कर र ट्राफिक जनचेतनामूलक संकेत बोर्ड राख्न वर्षैपिच्छे सडक बोर्डबाट बजेट आउने गरेको दाबी गर्छन् । आव ०७६/७७ का निम्ति पूर्व–पश्चिम राजमार्गको कमलादेखि कोसीसम्म इनामेल पेन्ट र रोड मार्करका लागि ५९ लाख रुपैयाँ ठेक्का सम्झौता भइसकेको दास सुनाउँछन् ।

Page 21
टिप्पणी

साझा पार्टीले कसका लागि माग्दै छ जनमतसंग्रह ?

- सञ्जीव पोखरेल

साझा पार्टी र शशांकको पश्चगमन मोहले देखाउँछ, उनीहरुमा रुपान्तरणकारी र भविष्यमुखीभन्दा विगततिरै फर्किन चाहने प्रवृत्ति हावी छ ।संविधान लागू भएको ३ वर्ष नपुग्दै संविधानका फलानाफलाना व्यवस्था असफल रहेकाले तिनलाई हटाउन जनमतसंग्रह गरौँ भन्नु केवल बहुसंख्यक समुदायको आशंका र असुरक्षामा खेल्ने राजनीतिक पार्टी र त्यसका नेताहरुको षडयन्त्र हो ।


नेपाली राजनीतिमा रूपान्तरणकारी र भविष्यमुखीभन्दा विगततिरै फर्किन चाहने प्रवृत्ति हावी छ । विगत समग्रतामा नराम्रो हुने त होइन । यद्यपि विगतमुखी प्रवृत्तिमा विगतका असल र राम्रा कुराको संरक्षण गर्ने होइन, त्यसैको अनुभवमा असफल र आलोचित अभ्यासको घुमाइफिराइ वकालत गर्ने र तिनको पुनर्स्थापना गर्ने छलफलमा मानिसको ध्यान बढी जाने गर्छ । त्यसैले सहज बुद्धिको सहायताले निर्क्योल गर्न सकिने सामान्य कुरालाई पनि दोहोर्‍याईतेहेर्‍याई भन्नुपर्ने दुःखद बाध्यता छ ।
साझा पार्टीले देशभरका अगुवा कार्यकर्ता बटुलेर लुम्बिनीमा पार्टीको राष्ट्रिय भेला सम्पन्न गरेको छ । भेलापछि जारी घोषणापत्रमा उसले स्पष्ट रूपमा संघीयताको ठाउँमा एकात्मक व्यवस्था र धर्म निरपेक्षताको ठाउँमा संविधानमा हिन्दु राष्ट्र लेखिनुपर्ने अडान प्रस्तुत गरेको छ । यी अडानलाई उसले घुमाउरो पारामा ‘जनमतसंग्रहबाट छिनोफानो गरिनुपर्छ’ भन्ने मागमार्फत प्रस्तुत गरेको छ ।
सँगसँगै नेपाली कांग्रेसमा सभापति पदका आकांक्षी शशांक कोइरालाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर पार्टीको महाधिवेशनबारे छलफल गरेको प्रसंग सञ्चार माध्यममा आएको छ । यी दुई प्रसंगले नेपालको संविधानमा अन्योन्याश्रित केही मूल्य–मान्यताको चर्चा फेरि आवश्यक भएको छ ।
साझा पार्टीको राजनीतिक विचारधाराले यसअघिका स्थानीय र संसदीय निर्वाचनका क्रममा जनताको समर्थन पाएन । केही महिनाअघि सम्पन्न उपनिर्वाचनमा साझा पार्टी झनै कमजोर र असान्दर्भिक भएको प्रमाणित भइसकेको हो । यद्यपि कतिपय राजनीतिक शक्तिको जनसमर्थन कमजोर रहे पनि कहिलेकाहीँ तिनले देशको अन्तर्विरोधमा खेलेर तरंग सिर्जना गरिदिन सक्छन् । यसलाई अंग्रेजीमा राजनीतिक पार्टीको ‘नुइसेन्स भ्यालु’ भन्ने गरिन्छ ।
बेलायतमा जनमत लगभग शून्य रहेको युनाइटेड किङडम इन्डिपेन्डेन्स पार्टी यही ‘भ्यालु’ प्रयोग गरेर आफूलाई युरोपेली संघबाट अलग गर्न सफल भयो । नेपालमा पनि चित्रबहादुर केसीको संयुक्त जनमोर्चा संघीयताको निरन्तर विरोध गरेर विशेष चर्चामा रहने गर्थ्यो । हिन्दु राष्ट्रको एजेन्डा बोक्न चाहेका शशांक यही ‘नुइसेन्स भ्यालु’ बढाउन खोजिरहेका छन् ।
साझा पार्टी र शशांकको पश्चगमन मोहलाई विगतका राजनीतिक आन्दोलनको सन्दर्भमा राखेर हेरौँ ।
०४६ र ०६२/६३ का दुई ठूला र शक्तिशाली राजनीतिक आन्दोलनका उद्देश्य र मर्म फरक थिए । पहिलो आन्दोलनको उद्देश्य र मर्म– राजाको नेतृत्वको निरंकुश पञ्चायती व्यवस्थाको ठाउँमा बहुदलीय प्रजातन्त्रको स्थापना थियो । दोस्रो आन्दोलनको मर्म– राज्य संरचनाले नसेमेटेका र विभेदमा पारिएका वर्ग, जाति, भाषा, लिंगको राजनीतिक अधिकार सुनिश्चित गर्ने थियो । यसका अतिरिक्त दोस्रो जनआन्दोलनकै सेरोफेरोमा मधेसमा अर्को आन्दोलन भयो, जसले मधेसीहरूको राजनीतिक अधिकार सुनिश्चित हुनैपर्ने माग गरेको थियो ।
नेपालको संविधानको संरचना र मर्मसँग दोस्रो जनआन्दोलन र मधेस आन्दोलन गाँसिएका छन् । यसको उद्देश्य पिछडिएको वर्ग, जाति, लिंग वा समुदायलाई यथोचित सम्मान र अधिकार सुनिश्चित गर्ने हो । विभेदमा पारिएका अल्पसंख्यक समुदायका अधिकार र अवसर सुनिश्चित गर्न अपनाइएका माध्यम हुन्, गणतन्त्र, धर्म निरपेक्षता र संघीयता ।
संघीयता, धर्म निरपेक्षता वा गणतन्त्र कसैलाई यी शब्दावली मन परेर संविधानमा राखिएका होइनन् । यी प्रावधानले नेपालका अल्पसंख्यक र पिछडिएका वर्ग, जसलाई विगतको निरंकुश, एकात्मक र विभेदकारी राज्य व्यवस्थाले यथोचित सम्मान र अवसर दिन सकेन । उनीहरूमाथि न्याय गर्न राखिएका प्रबन्ध हुन् । यी प्रबन्धको स्रोत माओवादी विद्रोह, मधेस आन्दोलनमा उठेका माग र ०६२/६३ को जनआन्दोलन हुन् ।
राजनीतिक पार्टीहरूले देशभित्रको अन्तर्विरोधलाई उपयोग गर्न खोज्नु स्वाभाविक होला । आफ्नो राजनीतिक शक्ति विस्तार गर्न र निर्वाचन जित्न पार्टीहरू आम जनताले रुचाउने वा उनीहरूको चासो रहेको कुरामा आफ्नो मत प्रस्तुत गर्छन् र निश्चित वर्ग वा समूहलाई हातमा लिएर राजनीतिक अवसर प्राप्त गर्ने प्रयास गर्छन् । यद्यपि राजनीतिक पार्टीहरूले जनता खुसी पार्ने क्रममा देशका राजनीतिक–सामाजिक मुद्दालाई कत्तिको गहिरिएर हेर्ने र देशको अन्तर्विरोधप्रति कति संवेदनशील हुने भन्ने कुरा तिनको क्षमता र विवेकमा भर पर्छ ।
साझा पार्टीको घोषणापत्र अध्ययन गर्दा उसले आफ्नो विवेक सम्पूर्ण रूपमा गुमाएको प्रस्ट हुन्छ ।
जनमतसंग्रहलाई ‘लोकतान्त्रिक विधि’ भनेर परिभाषित गर्न नसकिने होइन । यद्यपि के भुल्नु हुँदैन भने जनमतसंग्रह बहुमतबाट मुद्दाको छिनोफानो गर्ने विधि हो । जनमतसंग्रहले देशको कुनै राजनीतिक मुद्दालाई मतदानबाट टुंगोमा पुर्‍याउला तर यसरी गरिएको निर्णयले मतसंख्या भारी रहेका वर्ग, जाति वा समूहको मतलाई स्थापित गर्ने हो । कमजोर वर्ग, जाति, समुदायका आवश्यकता र अस्तित्वको रक्षा जनमतसंग्रहले गर्दैन ।
संविधानको आवश्यकता पर्ने यही कारणले हो । संविधानले राजनीतिक–आर्थिक अधिकार र न्यायको सुनिश्चितताका लागि केही अकाट्य र आधारभूत मान्यता निर्माण गर्छ ताकि कुनै मूर्ख वा सनकीले सर्वसाधारण नागरिक वा समाजका विपन्न वर्गको अधिकार खोस्न नसकोस् । धर्म निरपेक्षता र संघीयता नेपालको संविधानलाई परिभाषित गर्ने यिनै अकाट्य मान्यता हुन् ।
प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने वा जनमतसंग्रहको बढी उपयोग गर्ने देशहरूमा समेत संविधानका आधारभूत मूल्य–मान्यतामा जनमतसंग्रह हुँदैन । यदि धर्म निरपेक्षतामा जनमतसंग्रह गर्ने हो भने अरू कसैलाई मन नपरेको बहुदलीय शासन पद्धतिमाथि पनि गर्नुपर्ला । वा भनौँ– नेपाललाई स्वाधीन, सार्वभौम राख्ने कि अरू कुनै देशको संरक्षित राष्ट्र बनाउने भनेर जनमतसंग्रह गर्न पनि सकिने भयो ।
इतिहासलाई नबिर्सने हो भने जनमतसंग्रहको भद्दा प्रयोग नेपालमै पनि भएको हो । बहुदलीय राजनीतिक व्यवस्था राख्ने कि निर्दलीय निरंकुशतालाई निरन्तरता दिने भनेर राजा वीरेन्द्रले ०३६ मा जनमतसंग्रह गराए । यद्यपि त्यसले निरंकुशतालाई जिताइदियो ।
जनमतसंग्रहमा कसरी निर्दल विजयी भयो ? यो पक्ष पनि विचारणीय छ । निर्वाचन वा जनमतसंग्रह सम्पन्न वा शक्तिशाली वर्गले उपयोग गर्ने माध्यम हुन् । जनमतसंग्रहलाई बहुसंख्यक वा शक्तिशाली वर्गले सजिलै आफ्नो पक्षमा पार्न सक्छन् । यसको उदाहरण फेरि पनि ०३६ को जनमतसंग्रह हो, जसमा राजा वीरेन्द्र र
उनका मतियारहरूले राज्यको सम्पूर्ण स्रोत खर्चेर निरंकुशतालाई जिताए ।
८० प्रतिशत हिन्दु रहेको नेपालमा हिन्दु राष्ट्र राख्ने कि धर्म निरपेक्षता अपनाउने भन्ने विषयमा जनमतसंग्रह गरौँ भन्नु हास्यास्पद किन हो भने यो सोझै नेपाललाई हिन्दु राष्ट्र भनेर संविधानमा व्याख्या गर्न पाउनुपर्छ भनिएको हो । जनमतसंग्रहलाई केवल वैधानिकताका लागि उपयोग गर्न खोजिएको हो ।
राम्रोसँग अभ्यास हुन नपाएको र नेपालको सम्भ्रान्त, शक्तिशाली वर्गले कहिलै नरुचाएको संघीयताका विषयमा जनमतसंग्रह गरौँ भन्नु घुमाइफिराइ नेपाललाई फेरि एकात्मक व्यवस्थामा फर्काऔँ र राजनीतिक अधिकार एवं अवसर काठमाडौँकेन्द्रित गरौँ भन्नु हो ।
नेपालको संविधानले देशका अल्पसंख्यक र कमजोर वर्गको अधिकार र चासोको सुरक्षा गर्न केही विशिष्ट प्रबन्ध अपनाएको छ । अल्पसंख्यक धार्मिक समुदायलाई सम्मान तथा सुरक्षा दिन र राज्यलाई एउटा समुदायको धार्मिकताबाट अलग गर्न संविधानले धर्म निरपेक्षता अपनाएको छ । राजाको निरंकुशता अन्त्य र नागरिक सर्वोच्चता स्थापनाका लागि गणतन्त्रको प्रबन्ध भएको छ । एकात्मक व्यवस्थाले प्रश्रय दिएको केन्द्रीकृत र असमावेशी शासन प्रणालीलाई सुधार गर्न संघीयता अपनाइएको छ ।
एक पटक स्थापित भइसकेका यी प्रावधानमाथि प्रश्न गर्दै हिन्दु राष्ट्र र जनमतसंग्रहको माग गरेर साझा पार्टीले ०६२/६३ को जनआन्दोलनको उपलब्धिलाई नकार्दै र संविधानलाई अस्वीकार गर्दै देशलाई फेरि पहिलेकै द्वन्द्व र अन्तर्विरोधमा फर्काउन चाहेको प्रस्ट देखिएको छ ।
हिन्दु राष्ट्र राख्ने कि धर्म निरपेक्षता अपनाउने भनेर जनमतसंग्रह गर्ने हो भने यो नेपालका गैरहिन्दु जनजाति र धार्मिक अल्पसंख्यकमाथिको मजाक हुनेछ । राज्यलाई धर्म विशेषका मान्यता र संस्कारबाट परिभाषित गरिनु हुँदैन भन्ने मान्यता राख्ने मजस्ताका लागि यो लज्जाको विषय हुनेछ । यद्यपि बहुमत नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ भन्ने विकल्पले नै पाउनेछ ।
जनमतसंग्रह सबै प्रकारका सामाजिक वा राजनीतिक मुद्दाहरूको निरुपण गर्ने प्रभावकारी माध्यम होइन भनेर बुझ्न एउटा अर्को परिदृश्य कल्पना गरौँ– नेपालमा अल्पसंख्यकका लागि दिइएको आरक्षण, मातृभाषामा शिक्षाको अधिकार, आमाको नाममा सन्तानलाई नागरिकता दिने प्रावधान आदिका पक्षमा जनमतसंग्रह गर्ने हो भने यसमा कुन पक्षको विजय होला ?
साझा पार्टीले घोषणापत्रमार्फत सार्वजनिक गरेका मागको सम्भावित धरातलको थप चर्चा आवश्यक छ । माथि भनिएझैँ समाज वा राज्यमा अन्तर्विरोध हुनु स्वाभाविक हो । हरेक राज्यमा विविधता हुन्छ र त्यससँग असमान शक्तिको वितरण जोडिएको हुन्छ । शक्तिको वितरण साधन–स्रोतमा असमानता र जनसंख्याका माध्यमले सार्थक भइरहेका हुन्छन् । राजनीतिक दलले यो अन्तर्विरोधलाई नबुझ्ने कुरै भएन ।
डोनाल्ड ट्रम्पले अमेरिकामा गोराहरूको शक्ति बुझे, मोदीले भारतमा हिन्दु समुदायको । आज ट्रम्प गोराहरूका कारण र मोदी हिन्दुका कारण सत्तामा छन् र उनीहरू आ–आफ्ना मतदाताको स्वार्थ सुरक्षित गर्न तल्लीन छन् । साझा पार्टीले पनि कार्यकर्ता भेलाको घोषणापत्रमार्फत आफू हिन्दु समुदाय र एकात्मकता मन पराउने नेपालको सम्भ्रान्त वर्गको स्वार्थमा केन्द्रित रहने प्रस्ट बनाएको छ ।
एक पटक फेरि नेपाली कांग्रेसतर्फ फर्कौं ।
कांग्रेसको आगामी महाधिवेशनको सन्दर्भमा पनि हिन्दुवाद केन्द्रीय विषय बन्न पुगेको छ । कांग्रेसमा हिन्दुवादीको प्रभाव रहेको राम्रोसँग बुझेका शशांक आफूलाई हिन्दुवादको ‘कार्ड’ प्रयोग गरेर सभापति पद हात पार्ने प्रयासमा छन् । हालै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आशीर्वाद लिएर उनले कांग्रेसीहरूलाई आफू हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट सन्देश पनि दिइसकेका छन् ।
शशांकको हिन्दु कार्डले उनलाई कांग्रेसको अध्यक्ष बनाउने हो/होइन भन्ने महाधिवेशनपछि थाहा होला । यद्यपि जुन दिन शशांकले हिन्दु राष्ट्रको एजेन्डाका आधारमा सभापति पद जित्नेछन्, त्यो दिन कांग्रेसले हार्नेछ । आजको अवस्थामा जतिसुकै कमजोर भए पनि कांग्रेस पश्चगमनमा जाँदा अल्पसंख्यक समुदायको स्वर झनै कमजोर हुनेछ । नेपाललाई पहिलेकै जस्तो सीमित र शक्तिशाली वर्गको नियन्त्रणमा राख्ने मत बलियो हुनेछ । यसबाट नेपालको संविधानको कार्यान्वयनमा झनै चुनौती थपिनेछन् ।
आम मतदाताले यसअघिका निर्वाचनमा साझा पार्टीलाई बहिष्कार गरिसकेका हुन् । लुम्बिनी घोषणापत्र जारी भएपछि समावेशिता र न्यायको मर्म बुझ्ने समाजको चेतनशील वर्गमाझ साझा पार्टीको असली चरित्र उजागर हुने सहज अनुमान गर्न त सकिन्छ । तर समयमै सशक्त प्रतिवाद नभए साझा पार्टीले सिर्जना गर्ने ‘नुइसेन्स भ्यालु’ ले राजनीतिमा द्वन्द्वको ऊर्जा झनै थप्नेछ ।
नेपालको संविधानले बोकेका आधारभूत मान्यतामा अवश्य छलफल गर्न सकिन्छ । गणतन्त्र, धर्म निरपेक्षता वा संघीयता अकाट्य, अपरिवर्तनीय होइनन् । यद्यपि तिनको चर्चा त्यसभित्रका कमी–कमजोरी हटाउने, तिनलाई उन्नत तथा व्यवस्थित बनाउने एवं देश र जनताका लागि अझ बढी उपयोगी बनाउने उद्देश्यमा केन्द्रित हुनुपर्छ ।
संघीयताले सिर्जना गरेका चुनौतीको समाधान एकात्मक व्यवस्था स्थापना गरेर हुने होइन, संघीयतालाई नै सार्थक र उन्नत बनाएर हुने हो । धर्म निरपेक्षताले हिन्दु अतिवादीहरूको कुण्ठामा ठेस पुर्‍याउनेबाहेक कसको के नोक्सान गर्‍यो भन्ने प्रस्ट छैन ।
संविधान लागू भएको ३ वर्ष नपुग्दै संविधानका फलानाफलाना व्यवस्था असफल रहेकाले तिनलाई हटाउन जनमतसंग्रह गरौँ भन्नु केवल बहुसंख्यक समुदायको आशंका एवं असुरक्षामा खेल्ने राजनीतिक पार्टी र तिनका नेताहरूको षडयन्त्र हो । यस्तो षडयन्त्र राजनीतिक दाउपेचका आधारमा विजयी हुनु देश र संविधानको पराजय हो ।

Page 25
समाचार

युरोपको सपना देखाएर...

कालीकोट ओभरसिजका तीन सञ्चालक तीन सयभन्दा बढी युवाबाट करोडौँ ठगेर फरार
- कल्पना भट्टराई

रामेछापका सुजनकुमार खड्का, ३१, लाई एक दैनिक पत्रिकामा १० मंसिर ०७४ मा छापिएको विज्ञापनले तान्यो, ‘पोल्यान्डमा रोजगारीको अवसर’ । कामदारको माग संख्या दुई सय । १ लाख ३ हजार रुपैयाँ तलबसहित खान र बस्ने सुविधा पनि ।
दुई वर्ष दुबई बसेर फर्किएका सुजनले पत्रिकामा दिइएको सम्पर्क नम्बरमा फोन गरे । उनलाई कार्यालयमै बोलाइयो । धुम्बाराहीमा भेटियो, कालीकोट ओभरसिजको अफिस ।
त्यहाँ सुजनजस्तै विज्ञापन हेरेर कार्यालय खोज्दै आएका अन्य २० युवा पनि थिए । म्यानपावर सञ्चालक सनमान गोलेले ‘पोल्यान्ड ढिलो हुन सक्छ, जर्मनी चाँडै हुन सक्छ’ भनेपछि जर्मनीकै लागि खड्का राजी भए ।
पोल्यान्ड पुगेर युरोपका अन्य देश छिर्ने योजना बनाएका सुजनलाई ‘ढुंगा खोज्दा देउता’ मिलेजस्तै भयो । जर्मन छिर्ने तरिका थियो, युएनको युवासम्बन्धी कार्यक्रममा सहभागी हुने र अवैधानिक रूपमा बस्ने ।
उनले अनलाइन आवेदनका लागि मात्रै म्यानपावरलाई १ लाख रुपैयाँ बुझाए । यसरी पठाएबापत सनमानले १२ लाख रुपैयाँ खर्च लाग्ने बताए । तर जर्मनी दूतावासले लिएको अन्तर्वार्तामा भने सुजन अनुत्तीर्ण भए ।
सनमानले फेरि पोर्चुगल पठाइदिने आश्वासन दिए । खड्कासहित ११ जनाले पोर्चुगल जानका लागि १२ लाखका दरले १ करोड ३२ लाख रुपैयाँ कार्यालयमै बुझाए । उनीहरूको सपना थियो– जसरी पनि युरोप छिर्ने ।
म्यानपावर एजेन्ट भीम लामालाई पनि २४ फागुन ०७४ मा सुजनसहितको ११ जनाको टोलीसँगै दिल्ली पठाइयो । सुजन भन्छन्, “दिल्लीबाट पश्चिम अफ्रिकाको बाटो हुँदै पोर्चुगल लैजाने तयारी थियो ।”
चोर बाटो : विज्ञापनमा अन्तर्वार्ता दिएर वैधानिक तरिकाबाट लगिने भनिए पनि सुजनसहितको टोलीलाई चोर बाटोबाट पोर्चुगल छिराउने तयारी थियो । दिल्लीस्थित पोर्चुगल दूतावासबाट भिसा लगाउने भनी एजेन्ट भीम लामाले २० दिन त्यहीँ राखे ।
उनीहरूलाई पर्यटक भिसामा दिल्लीबाट मुम्बईको बाटो हुँदै अफ्रिकाको केन्या पुर्‍याइएको थियो । केन्याबाट आइभरीकोस्ट, सेनेगल हुँदै गिनीबिसाउको राजधानी बिसाउ पुर्‍याइएको थियो । पश्चिम अफ्रिकामा अवस्थित गिनीबिसाउ पोर्चुगलको उपनिवेश हो ।
बिसाउ पुगेपछि पोर्चुगलका लागि सेटिङ मिलाउन समय लाग्ने भन्दै उनीहरूलाई फ्ल्याटमा राखिएको थियो । फ्ल्याटमा राखिए पनि बस्ने र खाने खर्च आफूहरूले नै बेहोर्नु परेको सुजन बताउँछन् । बाटो खर्च भन्दै लगेको १५ सय युरो पनि उनीहरूले एजेन्टलाई नै बुझाएका थिए । खड्का भन्छन्, “पोर्चुगल जाने दिन कुरेर बसिरहेका हामीलाई एजेन्टले एक वर्षपछि भिसाबिनाको टिकट थमाइदियो ।”
उनका अनुसार पोर्चुगल छिराउनका लागि बिसाउका एक एजेन्टमार्फत त्यहाँको इमिग्रेसन नै किनिएको रहेछ । एजेन्टले नेपाल चीनको एक प्रान्त भनी बिनाभिसा छिराउन त्यहाँका कर्मचारी र प्रहरीलाई कन्भिन्स गरेका रहेछन्, होइन भनेपछि फिर्ता पठाइयो । त्यहाँ बस्दा र खाँदा मात्रै ७ लाख रुपैयाँ खर्च भएको उनी सुनाउँछन् । बिसाउमा पोर्चुगलको टिकट थमाएर लामा त्यहाँबाट दिल्ली फर्किएका थिए ।
ठगीका अनेक दाउ : कालीकोट ओभरसिजको विज्ञापनको भ्रममा परेर रौतहटका सन्तोष पौडेल, २७, पनि कार्यालय पुगे । उनीसँगै गएकी हेमकुमारी श्रेष्ठलाई पनि पोर्चुगल जाने अफर दिइयो । सञ्चालकले कृषि कामका लागि आएको कामदारको मागपत्र देखाए । सन्तोषले आफ्नो र साथीको गरी १६ लाख रुपैयाँ बुझाए । एक महिनापछि उनीहरूलाई ‘जब अफर लेटर’ आएको भन्दै भनेर बोलाइयो ।
सन्तोषसहितको ३२ जनाको टोलीलाई ४ जेठ ०७५ मा दिल्लीस्थित पोर्चुगलको दूतावासमा अन्तर्वार्ताका लागि लगियो । दिल्ली पहाडगन्जको एक होटलमा १७ दिनसम्म राखियो । त्यतिबेलासम्म अन्तर्वार्ता दिनकै लागि गोलेले थप ५३ जनालाई पनि बोलाएका थिए । पौडेल भन्छन्, “अन्तर्वार्ताका लागि दिन कुर्‍यौँ तर पालो कसैको आएन ।”
अन्तर्वार्ता दिन नपाएपछि पैसा फिर्ता माग्दा गोलेले सीधै पोर्चुगलको सेटिङ मिलाएको आश्वासन दिएर काठमाडौँ फिर्ता ल्याएको पौडेल सुनाउँछन् । “फोन गर्दा सेटिङ मिलाउँदै छु भन्ने जवाफ दिन्थे,” उनी भन्छन्, “अहिले त सम्पर्कमै छैनन् ।”
गोले चार महिनाअघि नै सबैको पैसा र पासपोर्ट लिएर फरार भएका रहेछन् । गोलेले म्यानपावर पनि बेचिसकेका छन् । उनीहरूलाई दिइएको ‘जब अफर लेटर’ पनि नक्कली रहेछ ।
पौडेलले युरोपमा धेरै कमाइ हुने लोभमा रौतटहमा कम्प्युटर पसल बेचेर पैसा बुझाएका थिए । भन्छन्, “विदेश जाने लोभले गरिरहेको व्यवसाय पनि छाडेँ, अहिले अर्काको पसलमा थोरै तलबमा काम गरिरहेको छु ।”
मलेसियामा सेक्युरिटी गार्डको काम गरी फर्किएका धादिङका देव राना मगर पनि उक्त म्यानपावरबाट ठगिएका छन् । सन् २००४ मा मलेसिया पुगेका म्यानपावर सञ्चालक गोलेसँग एउटै कम्पनीमा सेक्युरिटी गार्डको काम गरेका देवलाई पनि पोर्चुगल लैजाने भनी ४ लाख रुपैयाँ लिए । तर पठाएनन् ।
उनीसहित ४६ जनाको टोलीलाई सुरुमा पोल्यान्ड पठाउने भनिएको थियो । भिसा मिलाउन नसकेपछि पोर्चुगल पठाइदिने भनी दिल्लीस्थित दूतावास पुर्‍याइयो । दूतावासमा समेत सेटिङ मिलाएर अन्तर्वार्ता दिलाएको भनिए पनि भिसा लागेन । देव भन्छन्, “जाने टोलीमा सञ्चालक गोलेका आफन्त पनि भएकाले विश्वासमा परेर जे–जे भने, सबै मान्यौँ ।”
उठाउन खोज्दा उल्टै ऋण : ०७६ कात्तिकयता वैदेशिक रोजगार विभागमा कालीकोट ओभरसिजविरुद्ध दर्ता भएको उजुरीको संख्या २५ छ । ओभरसिजले तीन सयभन्दा बढीलाई ठगे पनि ६५ जनाले मात्रै उजुरी दिएका छन् ।
ठगीमा परेकामध्ये सुजन, सन्तोष, देव र दीपक डुबेको पैसा उठाउन काठमाडौँमै कोठा भाडा लिएर बसेका छन् । सन्तोष भन्छन्, “विभाग र म्यानपावर धाउने चक्करमा उल्टै तीन लाख खर्च भयो ।”
देव ठमेलस्थित साकुरा होटलमा १५ हजार रुपैयाँ तलबमा राती पार्ट टाइम काम गर्छन् । दिउँसो विभाग र म्यानपावर व्यवसायी खोज्न धाउँछन् । भन्छन्, “डुबेको पैसा उठाउने चक्करमा थप ऋणको भारी बोक्नु परेको छ ।”
सुजन पनि आफ्नो गुमेको पैसा उठाउन ८ महिनादेखि यतै छन् । म्यानपावर बेचे पनि पीडितसँग सम्पर्कमै रहेका गोलेले पैसा फिर्ता गर्ने आश्वासन दिँदै झुलाएका छन् । भन्छन्, “पहिला म्यानपावरबाटै पैसा उठाउन लागे पनि केही सीप नलागेपछि सबैले विभागमा उजुरी दियौँ ।”
गिनीबिसाउबाट ठगिएर सँगै नेपाल फर्किएका एक साथी फेरि उसैलाई ६ लाख तिरेर क्यानडा जान राजी भएको सुजन सुनाउँछन् । भन्छन्, “उनले हाम्रो कुरा पत्याएनन् । त्यहाँको पीआर (स्थायी बसोबास) पाउने लोभमा ठगिएको थाहै पाएनौँ ।”
ठगी धेरै, उजुरी थोरै : वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आव ०७४/७५ मा उजुरी गर्ने युवाको संख्या ७ सय ६९ छ । आव ०७५/७६ मा १ हजार २ सय ६३ मात्रै ।
“गैरकानुनी रूपमा युरोप–अमेरिका जान खोज्दा धेरै ठगिएका छन्, त्यसैले उजुरी गर्न आउँदैनन्,” विभागका निर्देशक हरिप्रसाद ज्ञवाली भन्छन्, “आएकासँग पनि प्रमाण हुँदैन ।” मानव तस्करी र ठगी गरेको आरोप लागेका उक्त म्यानपावरका तीनै जना सञ्चालक सनमान गोले, अवतार वाइवा र भीम लामाविरुद्ध विभागमा तीन करोड ठगी गरेको उजुरी परेको छ ।
तीनै सञ्चालकलाई पक्रिन विभागले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई पत्रसमेत काटेको छ । ब्युरोका डीएसपी राजकुमार सिलवाल तीनै जना आरोपीको खोजी
भइरहेको बताउँछन् ।

विदेशबाट फर्केर म्यानपावर
कालीकोट ओभरसिजका सञ्चालक सनमान गोले, ४१, सन् २००६ मा वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । तीन वर्षपछि फर्किएका गोलेले मलेसियामै कामदार पठाउने एजेन्टको काम गर्न थाले ।
हेटौँडा उपमहानगर–१३ पदमपोखरी स्थायी घर भई बौद्ध चुच्चेपाटी बस्ने गोलेले ०७४ वैशाखमा कालीकोट ओभरसिज सञ्चालन गरेका थिए । आफन्त, साथीहरूलाई समेत वैदेशिक रोजगारीका लागि युरोप लैजाने भनी ठगी गरेको उनका साथी देव राना मगर बताउँछन् ।
ओभरसिजका अन्य दुई सञ्चालक अवतार र भीम पनि सुरुमा म्यानपावरमा एजेन्टका रूपमा काम गर्थे । मकवानपुर घर भएका तीनै जना आफन्त हुन् । भीम ०७४ को स्थानीय तहको निर्वाचनमा कैलाश गाउँपालिकाको अध्यक्षमा राप्रपाबाट उठेका थिए । लामाले युवाहरूलाई युरोप पठाउन भनी लिएको पैसा चुनावमा खर्च गरेको स्थानीयको भनाइ छ । गाउँका धरै युवालाई युरोप लैजाने भनी ठगी गरेको गुनासो आएको वडाअध्यक्ष मनोज वाइवा बताउँछन् ।

Page 27
स्वास्थ्य

कोरोनाबाट आत्तिनु पर्दैन तर...

डा अनुप सुवेदी 

कोरोना श्वासप्रश्वास प्रणालीमा रुघाखोकी लाग्न सक्ने एउटा भाइरस हो । यही कोरोना भाइरसको नयाँ प्रजातिजस्तो सार्स २००२/००३ मा देखिएको थियो । विश्व स्वास्थ्य संगठनजस्ता स्वास्थ्य संस्थाहरूको सहकार्यबाट त्यो भाइरस नामेट पार्न सकियो । कुनै ल्याबमा त्यसका अंशहरू अहिले पनि छन् तर मानिसलाई रोग लगाउन सक्ने गरी त्यो छैन । अहिले फेरि नयाँ भाइरसको प्रजाति उब्जिएको छ । यो नयाँ कोरोना भाइरसको आधिकारिक नाम सार्स कोरोना भाइरस २ हो । कोभिड भनेको कोरोना भाइरस डिजिज हो । यो नयाँ कोरोना भाइरसले लगाएको रोगलाई कोभिड २०१९ भनिएको छ ।
सुरुमा यो रोग चीनमा कुनै जनावरबाट मान्छेमा स‍र्‍यो । प्रायः मान्छेमा जनावरबाट आएको भाइरस रहँदैन । हाम्रो शरीरले त्यो भाइरस मार्न सक्छ । प्रायः भाइरस एउटा निश्चित जनावरमा मात्रै बाँच्न सक्छन् । यो भाइरसचाहिँ कुनै कारण मान्छेमा पनि बाँच्न सक्ने र एउटा मान्छेबाट अर्को मान्छेमा फैलिन सक्ने चरित्रको रहेछ । श्वासप्रश्वास प्रणालीबाट निस्कने ‍र्‍यालका छिटाबाट यो सर्छ । त्यो ‍र्‍याल कुनै सामानमा परेको छ भने त्यो सामानसँगको स्पर्शपछि त्यो हात आँखा, मुख, नाकमा लग्यौँ अथवा कुनै चीज समायौँ र खायौँ भने त्यही ‍र्‍यालका छिटा जताजता जान्छन्, त्यही बाटोबाट हाम्रो शरीरभित्र भाइरस प्रवेश गर्छ । र, हामीलाई रोग लाग्न सक्छ ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर नै आतंक छ । अब हामीले रोगबारे जानकारी लिनुपर्छ । रोगबाट कसरी बच्ने भन्ने सिक्नुपर्छ र त्यहीअनुसार सतर्कता अपनाउनुपर्छ । सरकारले जनतालाई आश्वस्त बनाउन सके आत्तिने अवस्था रहँदैन । यो धेरै फैलिन्छ कि भन्ने अलिअलि शंका छ । कडा इन्फ्लुएन्जाका कारण धेरै मानिस सिकिस्त भएर अस्पताल भर्ना हुने गरेको हामीले देखिरहेकै हो । धेरै जना मानिस शिक्षाको अभावले पनि आत्तिएका छन् । कसरी सर्छ, कसरी बच्न सकिन्छ भन्ने कुरा सिकाइएको छैन । सरकारका वेबसाइटहरूमा सूचना होला तर आम जनताले बुझ्ने भाषा र सार्वजनिक पहुँचमा छैन । रेडियो नसुन्ने वा टिभी नहेर्ने मान्छेले बुझ्न सक्दैनन् । उनीहरूले पनि थाहा पाउने गरी समुदायमा गएर सिकाउनुपर्छ । नेपालमा ग्रामीण स्वास्थ्य कार्यकर्ताको ठूलो नेटवर्क छ । उनीहरूको नेटवर्कलाई प्रयोग गर्न सकिन्छ । अर्को, ठूलो अभाव मास्कको हुँदै छ । हाम्रो देशमै मास्क उत्पादन थाल्नुपर्छ । ‘एन ९५’ मास्क बन्यो भने धेरै राहत हुन्छ ।
अस्पतालहरूमा संक्रमण नियन्त्रणका नीति लागू गर्नुपर्छ । सबै अस्पतालले अहिले नै आफ्ना वार्ड र क्याबिनहरूमा हात धुने ठाउँ छैन भने अहिले नै धाराहरूको प्रबन्ध गर्नुपर्छ । ताकि साबुनले हात धुन सजिलो होओस्, मान्छेले टाढासम्म हिँड्नुप‍र्‍यो भने हात नधुन सक्छ । अहिले भएकै कोठालाई ३०/४० हजार रुपैयाँ खर्च गरेर ‘नेगेटिभ प्रेसर रुम’ बनाउन सकिन्छ । यसो गरे अस्पतालका स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न सकिन्छ । अस्पतालमा एउटा मान्छेबाट अर्को मान्छेमा रोग फैलने सम्भावना कम हुन्छ ।
संक्रमण बढ्दै गयो भने भीडभाड कम गर्ने तथा भीडभाडमा नजान प्रेरित गर्नुपर्छ । अहिले नै स्कुल बन्द गर्ने कुरा चर्चामा आएको छ । तर सरकारले गर्नुपर्ने मुख्य कामचाहिँ ल्याबको क्षमता बढाउने हो । ल्याबको क्षमता बढाएपछि नेपालमा कोरोना भाइरस आएको छ कि छैन भन्ने निर्क्योल गर्न सजिलो हुन्छ ।
नेपालमा अहिलेसम्म संक्रमण देखिएको छैन । तर आएको छ कि छैन भन्नलाई पर्याप्त मात्रामा जाँचेकै छैनौँ । खोकी लागेर आएका वा इन्फ्लुएन्जा नेगेटिभ भएका बिरामी हरेक दिन २०/२५ जनाको परीक्षण गर्न सकियो भने अहिलेसम्म आएको छैन भनेर देखाउन सक्छौँ र जनतालाई आश्वस्त पार्न सक्छौँ । केही गरी आएको वा फैलिएको रहेछ भने पनि अनावश्यक रूपमा सरकारको स्रोत–साधन क्वारेन्टाइन गर्नेतिर खर्च हुँदैन । त्यतिबेला हामी भन्न सक्छौँ, ‘कम लक्षण भएका मान्छे घरमै बस्नुस्, अरूलाई सर्न नदिनुस् र मास्क लगाउनुस् ।’ स्कुलहरू बन्दै गर्नुपर्ने भए त्यसबेला गर्न उपयुक्त हुन्छ । स्वास्थ्य किटहरू बढी ल्याएर परीक्षण बढाउनेतिर हाम्रो प्रयत्न कमजोर भइरहेको छ ।
व्यक्तिगत सुरक्षाको प्रबन्ध हामी सजिलैसँग अपनाउन सक्छौँ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने बानी बसाल्ने र हात धुने विधिका भिडियो जनतासामु लग्ने । साबुनले राम्रोसँग हात धुन र पखाल्न २० देखि ३० सेकेन्ड लाग्छ । हात पखालेपछि सुकाउनु पनि पर्छ । सुकेन भने पनि पूरा सफा भइसकेको हुँदैन । त्यसबाहेक अरूलाई सर्न नदिन मास्क लगाउनुपर्छ । तर आफूलाई लक्षण छैन, खोकी छैन, ज्वरो छैन, श्वास फेर्न गाह्रो भएको छैन भने मास्क लगाउनु पर्दैन । बिनालक्षण मास्क लगाउँदा अनावश्यक खर्च हुन्छ । मास्क साँच्चै चाहिने स्वास्थ्यकर्मी वा बिरामीलाई नपुग्न सक्छ । कोरोना भाइरसबाट बच्न भनेर बाटोमा हिँड्दा मास्क लगाउनु आवश्यक छैन ।
घरपरिवार वा छरछिमेकमा उमेर बढी भएका, रोगसँग लड्ने क्षमता कमजोर भएका दीर्घ रोगी छन् भने उनीहरूलाई जोगाउनुपर्छ । इन्फ्लुएन्जाको भ्याक्सिन लगाएको छैन भने लगाइहाल्नुपर्छ । त्यस्ता बिरामीलाई झन् पहिले लगाउनुपर्छ । उनीहरू सकेसम्म बाहिर जान नपरोस् भन्नेमा ध्यान दिनुपर्छ । भीडभाडमा जान नपरोस् भनेर सहयोग गर्नुपर्छ । अहिले प्रचारमा आइरहेको छ कि हामी नजानीकनै मुख, नाक, आँखा छोइरहेका हुन्छौँ । सकेसम्म त्यसो नगरौँ भनिएको छ । तर साँच्चै त्यसो गर्न सकिन्छ कि सकिँदैन, भन्न मुस्किल छ ।
यो संकट कति समय जाला ? यसै भन्न गाह्रो छ । कुनै भाइरस जाडो याममा मात्र देखिन्छन्, गर्मी याममा हराउँछन् । कुनै भाइरस सबै याममा फैलिरहने पनि हुन सक्छन् । इबोलालाई जाडो र गर्मीले खासै फरक पारेन । सार्सलाई पनि जाडो र गर्मीले खासै फरक पारेको होइन । सामान्यतया कोरोना भाइरस अलि बढी तापक्रममा मर्छन् भनिन्छ । गर्मी आउँदै जाँदा केही हदसम्म यो रोगका नयाँ बिरामीको संख्या कम हुँदै जाला । तर पूरै हराउँछजस्तो लाग्दैन । यसलाई निर्मूल पार्न सशक्त जनस्वास्थ्य संयन्त्रको प्रयत्न आवश्यक छ । सरकार र समुदायको सहकार्य चाहिन्छ । नयाँ भ्याक्सिन र औषधी नआएसम्म यसै भन्न सकिन्न ।
यो असाधारण संकटको समय हो । अरू बेलाका उपायबाट काम चल्दैन । सरकारको कार्यशैली अहिलेभन्दा चुस्त देखिनुपर्छ । सरकारको तदारुकताचाहिँ देखिन्छ । विभिन्न समिति बनेका छन्, नाकामा सतर्कता देखिएको छ तर फैलिएमा कसरी जोगिने, कसरी बिरामीको संख्या कम गर्ने भन्नेमा ध्यान पुगेको छैन । सघन उपचार क्षमता बढाएर, संक्रमण नियन्त्रण नीति सुधार गरेर, स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएर यस्ता काम गर्न सकिन्छ । यस्तो काम एक महिना पहिले हुनुपर्थ्यो । त्यसमा अहिले राम्रो तदारुकता देखिएको छ तर अहिले गर्नुपर्ने कामचाहिँ अझै दुई–चार साता ढिला जान्छ कि भन्ने डर छ । सरकारले पनि आफ्नो नियमित प्रक्रियाभन्दा द्रुत कारबाही देखाउनुपर्छ । साँच्चै काम गर्नेभन्दा सरकारी अधिकारीहरूको समय कागजी बैठकमा खेर गइरहेको छ । कार्य सञ्चालन प्रक्रिया सजिलो र छरितो बनाएर अहिलेको संकट सामना गर्न सक्छौँ ।
(ह्याम्स अस्पतालमा कार्यरत डा सुवेदी संक्रमण रोग विशेषज्ञ हुन् ।)

 

वुहानको कोरोना प्रकोप : गरे के हुन्न ?

– लक्ष्मी लम्साल/बेइजिङ
कोरोनाले चिनियाँ जीवन तहसनहस बनाइरहेको छ । तर संकटको घडीमा पनि चीनले जसरी १ अर्ब ४० करोड जनतामा सहजै राहतको अनुभूति गराउन सकेको छ, त्यो कुनै पनि देशका लागि अनुकरणीय विषय हो । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयअन्तर्गत पूर्वी एसिया अनुसन्धान केन्द्रका प्रमुख श्रीकण्ठ कोन्दापाली भन्छन्, “रोग प्रतिरोधसम्बन्धी चीनको कदम एकदमै तीव्र रहेकाले अन्य मुलुकका लागि सिक्नलायक अनुभव हो ।”
स्वास्थ्यसम्बन्धी मामिला भएकाले अस्पताल, औषधी, चिकित्सक, स्वयंसेवी, अन्तर्राष्ट्रिय समन्वय, सर्वसाधारणको जीउधन, दैनिक जीवनसँग सम्बन्धित विषयको यति व्यवस्थित रूपमा परिचालन गर्न सक्नु सानो कुरा थिएन ।
जनवरी २४ तारिखदेखि दिनरात नभनी ४ हजार कामदारले दुई सिफ्टमा खटिएर १० दिनमै १ हजार शैय्याको ‘हो सन सान’ अस्पताल बनाई भ्याए । यो अस्पताल निर्माणाधीन छँदा जनवरी २६ तारिखदेखि सुरु भएको ‘लैसनसान’ अस्पताल पनि १२ दिनमै निर्माण सम्पन्न भएको हो । ७९ हजार ७ सय वर्गमिटर क्षेत्रफलको सो अस्पतालमा १६ सय शैय्या क्षमता छ भने २ हजार चिकित्सकले काम गर्न सक्छन् ।
साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा मोहम्मद अलअब्दुलाली चीनको खुलापन, विविध सशक्त कदम र सम्बद्ध अनुसन्धान प्रतिफलबाट सारा विश्व लाभान्वित हुने ठान्छन् ।

Page 29
सरोकार

प्रत्यारोपणपछि बढेको सरकारी भरोसा

बर्सेनि तीन हजार व्यक्तिको मिर्गौला खराब, प्रत्यारोपण भने मुस्किलले दुई सयको
- जनक नेपाल

मिर्गौला प्रत्यारोपणमा कहलिएका चिकित्सक हुन्, प्राडा प्रेमराज ज्ञवाली । १२ वर्षयता त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा प्रत्यारोपण गरिएका ६ सय १३ मध्ये झन्डै ५ सय शल्यक्रियामा उनी संलग्न छन् । उनका लागि ६ सय १४ औँ प्रत्यारोपण विशेष रह्यो, जो प्रधानमन्त्री केपी ओलीको थियो ।
प्रधानमन्त्री ओली राज्यकोषबाट सहायता लिएर विदेशमा उपचार गराउने नेताको अग्रपंक्तिमै पर्छन् । एक दशकयता स्वास्थ्योपचारका लागि उनी कम्तीमा नौ पटक विदेशका अस्पताल पुगेका छन् । जटिल मानिएको दोस्रो मिर्गौला प्रत्यारोपणका लागि भने स्वदेशकै सरकारी अस्पताल रोजेर ओलीले नेपाली स्वास्थ्य सेवा पनि अन्तर्राष्ट्रिय स्तरमा पुगेको उजागर गराएका छन् ।
“डाक्टरका लागि सबै बिरामी बराबरै हुन् । प्रत्यारोपणको विधि पनि एउटै हो,” ज्ञवाली भन्छन्, “तैपनि सरकारप्रमुखको उपचार गर्न पाउँदा छुट्टै हौसला बढ्दो रहेछ । यसले नेपाली चिकित्सकमा ऊर्जा थपिएको छ ।”
ज्ञवालीको नेतृत्वमा १६ सदस्यीय चिकित्सक टोलीले झन्डै पाँच घन्टा लगाएर २१ फागुनमा ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो । शिक्षण अस्पतालले २४ साउन ०६५ देखि मिर्गौला प्रत्यारोपण थालेको थियो । तर चर्चा भने प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलतापछि बल्ल हुँदै छ । प्रत्यारोपणमा ९५ देखि ९७ प्रतिशतसम्म सफलतालाई अन्तर्राष्ट्रिय मापदण्ड मानिन्छ । शिक्षण अस्पतालमा भने प्रत्यारोपण सफलताको दर ९८ दशमलव ७ प्रतिशत रहेको ज्ञवाली बताउँछन् ।
गत साउनदेखि मिर्गौलाको समस्याले सताएपछि ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पताल पुगेर प्लाज्माफेरेसिस गराए । तैपनि प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि ओलीले १३ कात्तिकदेखि नियमित डायलेसिस गराउँदै आए । डायलेसिस गर्न ताजा रगत चाहिन्थ्यो । एउटै रक्त समूह ‘ओ नेगेटिभ’ भएकाले भान्जी समीक्षा संग्रौलाले ओलीका लागि रक्तदान गर्न थालिन् । उनैले ओलीलाई मिर्गौलामार्फत नयाँ जीवन दिएकी हुन् ।
सुरुमा प्रधानमन्त्रीको रोजाइ ग्रान्डी अस्पताल थियो, जहाँ उनकी निजी चिकित्सक डा दिव्यासिंह शाह कार्यरत छन् । सातामा तीन पटकसम्म डायलेसिस गर्नुपर्ने भएपछि ओली बिरलै मात्र बालुवाटारबाहिर निस्कन्थे । भित्रभित्रै उनको मिर्गौला प्रत्यारोपणको तयारी हुँदै थियो । १० मंसिरमा एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि गर्नु परेको शल्यक्रियाले भने ओलीको मिर्गौला प्रत्यारोपणलाई पर धकेलिदियो । त्यतिबेला पनि उनको शल्यक्रिया शिक्षण अस्पतालमै गरिएको थियो ।
मिर्गौला प्रत्यारोपणमा नेपाली सरकारी अस्पतालको अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि राम्रो नतिजा बुझेपछि प्रधानमन्त्री ओलीले स्वदेशी सरकारी अस्पताल रोजेको बालुवाटार स्रोत बताउँछ । त्यसमा प्राध्यापक डा अरुण सायमीको पनि भूमिका छ ।
सायमी २५ वर्षदेखि ओली नजिकका चिकित्सक हुन् । उनी ०५१ सालमा तत्कालीन एमालेको अल्पमत सरकारको क्याबिनेट चिकित्सक थिए । ओलीलाई शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गराउन उनले सुझाएका हुन् । “प्रधानमन्त्री ओलीले स्वदेशमै प्रत्यारोपण गराउँदा जनस्तरसम्मै यसको राम्रो सन्देश गएको छ,” डा सायमी भन्छन्, “सरकारी स्वास्थ्य सेवाप्रति विश्वास बढाउन यसले मद्दत पुगेको छ ।”
प्रत्यारोपणअघिका लम्बेतान प्रक्रिया र परीक्षणका कारण पनि ओलीलाई स्वदेशमै प्रत्यारोपण गराउन सजिलो भयो । बितेका तीन महिना उनी नियमित डायलेसिससँगै प्रत्यारोपणको तयारी गर्दै थिए । तिनै तयारीका लागि विदेश जानु परेको भए कार्यकारी भूमिकाका ओलीका लागि सहज हुने थिएन ।
पार्टीभित्र आफूविरुद्ध बढ्दै गएको असन्तुष्टिका बीच ओली कार्यवाहक भूमिकासमेत कसैलाई नदिई प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए । राज्यकोषबाट विदेशमा उपचार गराएको भन्दै आलोचना बेहोर्दै आएका ओलीका लागि स्वदेशमै प्रत्यारोपण गराउँदा प्रशंसा पाउने मौकासमेत जुर्‍यो ।
प्रधानमन्त्री ओली रोगसँग जुध्न थालेको झापा विद्रोहका क्रममा जेल परेबाटै हो । त्यतिबेला उनलाई ग्यास्ट्राइटिस बिग्रेर अल्सर भयो । आन्द्रामा घाउ भएपछि नराम्ररी थलिए । अल्सर सन्चो नहुँदै क्षयरोगले सतायो । गोलघरमा सँगै बसेका उनका समकालीन नेता राधाकृष्ण मैनाली भन्छन्, “जेलमा निकै कष्ट बेहोर्नुपर्‍यो । पौष्टिक खाना चाहिने बेला उसिना चामलको भरमा बाँच्नुपर्‍यो । त्यसले पनि ओलीजीलाई एकपछि अर्को रोग लाग्दै गयो ।”
अल्सरपछि टीबी भएपछि उनका धेरै राजनीतिक सहकर्मीले आशा मारिसकेका थिए । दिसापिसाब गराउनसमेत ओलीलाई डोर्‍याएर लैजानुपर्थ्यो । त्यतिबेला पनि ओलीको मनोबल भने उच्च रहेको मैनाली सम्झिन्छन् । ‘त्यसै मरिँदैन आरके, मरिँदैन । हामी मरे देश कसले बनाउँछ’ भन्दै ओलीले चिन्तित सहकर्मीलाई ढाडस दिने गरेको उनी सुनाउँछन् । उनीभन्दा हट्टाकट्टा बन्दीहरू भेटला राजवंशी र छविलाल राजवंशीको टीबी लागेर जेलमै निधन भयो । ओलीले भने रोगलाई जित्दै आए ।
ओलीलाई ०५१/५२ पछि उच्च रक्तचापको समस्या देखियो । रक्तचाप नियन्त्रणमा हेलचेक्र्याइँको असर ०५६ पछि मिर्गौलामा पर्‍यो । रोग बढ्दै गएर ०६३ सम्म आइपुग्दा उनका दुवै मिर्गौलाले काम गर्न छाडे । भारतको अपोलो अस्पतालमा ०६४ साउनमा पहिलोपल्ट मिर्गौला प्रत्यारोपणपछि झन्डै एक दशक उनको स्वास्थ्यस्थिति ठीकै रह्यो । तर ०७० को दोस्रो संविधानसभा निर्वाचनको धपेडीबाट बिग्रेको उनको स्वास्थ्य फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा समस्या, हातखुट्टामा फंगस संक्रमण र मस्तिष्क ज्वरो हुँदै प्रत्यारोपित मिर्गौलाले काम नगर्ने स्थितिसम्म आइपुग्यो । डा ज्ञवाली भन्छन्, “नयाँ मिर्गौलाले काम गर्न थालेपछि प्रधानमन्त्रीको स्वास्थ्य ठीक हुँदै छ । ढिलोमा एक साताभित्र डिस्चार्ज हुनु हुनेछ ।”
प्रधानमन्त्रीलाई जस्तो सर्वसाधारणका लागि भने मिर्गौला प्रत्यारोपण सहज छैन । मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार बर्सेनि झन्डै तीन हजार व्यक्तिको मिर्गौला खराब हुन्छ । प्रत्यारोपण भने मुस्किलले दुई सयको हुने गरेको छ । त्यसैले उपचार नपाएर थलिने र मृत्युवरण गर्नुपर्ने मिर्गौलापीडितको संख्या उल्लेख्य छ । यस्तोमा मिर्गौलापीडित प्रधानमन्त्री ओलीबाट बिरामीले धेरै अपेक्षा गरेका छन् ।
मानव अंग प्रत्यारोपण ऐन, ०५५ मा नजिकका नातेदारले मिर्गौला दान गर्न सक्ने व्यवस्था थियो । ओली पहिलोपल्ट प्रधानमन्त्री भएका बेला ०७२ मा संशोधन गरी दाताको दायरा बढाइयो । तीन पुस्ताभित्रका नातेदार, धर्मपुत्रपुत्री, मित छोराछोरीले समेत मिर्गौला दान गर्न पाउने व्यवस्था अहिले छ । प्रत्यारोपणमा असम्बन्धित चिकित्सक, अस्पताल प्रशासक, जिल्ला प्रशासन प्रतिनिधि र कानुनी सल्लाहकार रहेको प्रत्यारोपण स्वीकृति समितिले निर्णय गरेपछि मात्र मिर्गौला प्रत्यारोपण गर्न पाइन्छ ।
अहिले प्रत्यारोपणका लागि भर्ना हुने बिरामीलाई सरकारले ४ लाख र अस्पतालले साढे १ लाख अनुदान सहयोग गर्छ । उक्त अनुदानबाट जटिल समस्या नआए विपन्न वर्गको मिर्गौला प्रत्यारोपणका लागि खर्च पुग्ने अस्पतालको दाबी छ । ऐनले ‘ब्रेन डेथ’ बिरामीबाट मिर्गौला दान लिन सक्ने व्यवस्था गरेको छ । केन्द्रले तीन जना त्यस्ता बिरामीबाट ६ जनामा मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण गरेको थियो ।
सरकारीमा शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र वीर अस्पताल तथा निजीमा ग्रान्डी, निदान, सुमेरु र भरतपुर मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । वीर अस्पतालमा ९९ र केन्द्रमा ६ सय ९२ मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिसकेका डा श्रेष्ठ भन्छन्, “मिर्गौला बिग्रिने संख्याको तुलनामा प्रत्यारोपण धेरै कम छ । बिरामीले सहज प्रत्यारोपणको सुविधा दिलाउन सरकारले सेवा विस्तार गर्नुपर्ने खाँचो छ ।” प्रधानमन्त्री आफैँ मिर्गौलापीडित भएकाले हजारौँ बिरामीको हितमा सेवा विस्तार हुनेमा आशावादी रहेको उनी बताउँछन् ।

Page 31
टिप्पणी

हामीले भारत चीन चिनेनौँ, तिनले नेपाल चिनेनन्

- त्रैलोक्यराज अर्याल

हामी धेरैजसो नेपालीहरू इतिहासमा बाँच्छौँ ।
बुद्ध, गोर्खाली वीरताबाहेक खासै गर्व गर्न सकिने कुरा नभएर होला, अहिले पनि हामीलाई भविष्यको योजना बनाउनभन्दा इतिहासमै रमाउन मन लाग्छ । झन् अहिलेको बेथिति भोग्दा र सबैतिरबाट हेपिँदा इतिहास नै हाम्रा लागि असरदार मलम भएको छ ।
आफूले गर्व गर्न सक्ने इतिहास मात्रै जपेर अगाडि बढ्दा देश आज धेरै कुरामा तल परिसक्यो । आफूलाई वीरको देश भनेर नथाक्ने हामीहरूको सेना आज संसारकै कमजोरमध्ये एक भइसक्यो । विगतको महानता हेर्ने तर अहिलेको धरातलीय यथार्थ नहेर्ने बानीले हाम्रा छिमेकीसँगको सम्बन्ध पनि समानताको आधारमा अघि बढ्न सकेको छैन ।
नेतृत्वको त कुरै छाडौँ । उसले आफ्नो अनुकूल इतिहासको (अप)व्याख्या गरिरहेकै हुन्छ । खेदको विषयचाहिँ बौद्धिक वर्गले वर्तमानको वास्तविकता बुझेर कसरी सुनौलो भविष्य निर्माण गर्ने भनी बहस गर्नुपर्ने हो, त्यो वर्ग पनि इतिहासकै एउटा कालखण्डमा झुन्डिएर बसेको छ ।
नेपाल महत्त्वपूर्ण हो, यसले चीन र अमेरिकाको लडाइँ हुन दिँदैन, नेपालले नै तिब्बतको सुरक्षा गरिरहेको छ, नेपाल नै भारत–चीन व्यापारका लागि ट्रान्जिट हो, वीर गोर्खाली अहिले पनि महत्त्वपूर्ण छन् र नेपालले नै सबै क्षेत्रीय समस्यालाई विस्फोट हुनबाट रोकिरहेको छ भन्ने भाष्य अहिले लोकप्रिय छ । १० वर्षयता छापिएका अन्तर्राष्ट्रिय सम्बन्धका लेखहरूमा भूराजनीति, भूरणनीतिजस्ता शब्दको प्रयोग व्यापक भएको छ । जसरी भौतिकशास्त्रको आधारभूत सिद्धान्त प्रयोग गरेर हाम्रा स्कुले विद्यार्थीले जे भेटायो, त्यहीबाट केही सेकेन्ड मात्र उड्ने हेलिकप्टर बनाए पनि हामी दंग परिदिन्छौँ, त्यसैगरी भारत चीनका बीचमा नेपाल भूराजनीतिक कडी भइसक्यो भन्न पाउँदा आफैँ मख्ख पर्छौं । यस्तो गर्नु भनेको केटाकेटीले हेलिकप्टर बनाए भनेर दंग पर्नुजस्तै हो । न नेपालमा हेलिकप्टर फ्याक्ट्री खुल्छ, न त ती केटाकेटीले नोबेल पुरस्कार पाउनेछन् ।
त्यसैले हामीले धरातलीय यथार्थ बुझेर छिमेकसित कसरी सम्बन्ध अगाडि बढाउने भनेर सोच्ने बेला हो, यो ।
सुरु गरौँ, भारतबाटै । हाम्रो भारत बुझाइको खोट हामी एउटा उच्चताभासको कृत्रिम अनुभूति (फल्स सेन्स अफ सुपेरियोरिटी) बाट निर्देशित छौँ । पहिलो– भारत पराधीन हुँदा पनि हामी स्वतन्त्र थियौँ । भारतले यो कुरा बिर्सनुहुन्न । दोस्रो– हामीले भारतबारे बुझ्न र पढ्न केही बाँकी नै छैन । सबै नेपाली एक से एक भारत विशेषज्ञ हुन् । तेस्रो– भारतसितको समस्या त्यहाँको प्रशासनयन्त्रसँग हो । दुई देशका नेताले राम्ररी वार्ता गरे ती समाधान हुन्छन् । चौथो– भारतले यहाँ नचाहिँदो हस्तक्षेप गर्छ । यो बिर्सन्छौँ, हाम्रै नेताहरूले पनि भारतलाई यहाँको आन्तरिक राजनीतिको मुख्य खेलाडी बनाइरहेका छन् ।
अब यस्ता कुतर्क छाडेर हामीले भारतलाई बुझ्नुपर्‍यो । हो, इतिहासमा ऊ पराधीन हुँदा हामी स्वतन्त्र थियौँ तर अब समय परिवर्तन भइसक्यो । अहिलेको भारत एउटा क्षेत्रीय शक्ति हो र उदाउँदो आर्थिक शक्ति पनि । हामीबीच समस्या धेरै छन् तर सहकार्यका मौका पनि प्रशस्त छन् । नेपाल भारतबीचको धार्मिक, सांस्कृतिक, भाषिक र नश्लीय समानतालाई कसरी दुई देशको सम्बन्धमा जोड दिएर नयाँ उचाइमा लैजाने भनेर दुवै देशका नेता, बुद्धिजीवीले बहस गर्नुपर्छ । भारतसितको समस्या नेतृत्वले मात्र समाधान गर्न सक्छ भन्ने भ्रमबाट पनि मुक्त हुनुपर्छ । नेपालको प्रशासनिक संयन्त्र पनि बलियो नबनाई सुखै छैन । अब पहिलेझैँ व्यक्तिगत सम्बन्धलाई देखाएर अहिलेको आत्मविश्वासी र अग्रसर भारतसित डिल गर्न सकिँदैन ।
अर्को कुरा, हालसम्मका भारतीय नेताहरू हुर्किंदा भारत धनी र शक्तिशाली पनि थिएन । उनीहरू नेपाललगायत अरू गरिब देशका मर्का बुझ्न सक्थे । तर अबको केही वर्षपछि भारतमा जन्मिएको सम्पन्न र शक्तिशाली एउटा नयाँ पुस्ताले त्यहाँको राज्य र प्रशासन हाँक्छ । उनीहरूका लागि नेपाल भनेको सस्ता कामदार पठाउने गरिब र अस्थिर छिमेकी हो भन्ने मात्र नहोला भन्न सकिन्न । त्यो पुस्ता झनै हठधर्मी हुन्छ । त्यसैले पनि अहिलेको राजनीतिक र प्रशासनिक नेतृत्वसँग सहकार्य गरेर समस्या समाधान गर्दै नेपालको आर्थिक उन्नति कसरी गर्ने भन्ने योजना बनाउनु नै बुद्धिमत्ता हो । अब आउने भारतीय नेतृत्वको न नेपाल हाँक्नेहरूसित व्यक्तिगत सम्बन्ध हुन्छ, न त उनीहरू नेपालका केही नेताले भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए भनेर पर्वाह गर्छन् । उनीहरू नेपाल कति धनी र शक्तिशाली छ एवं नेपालसँगको सम्बन्धले भारतलाई कति नाफा वा घाटा छ भनेर सोच्ने हुन्छन् । अब त्यो पुस्तासित कसरी संवाद गर्ने भनेर नेपाली
नेताले सोच्नैपर्छ ।
नेपाल–चीन सम्बन्ध पनि भ्रमकै धरातलमा उभिएको छ । हाम्रो बुझाइमा हामी जति भृकुटी, अरनिको र खम्पा विद्रोहलाई दुई देशको सम्बन्धको महत्त्वपूर्ण कडीका रूपमा हेर्छौं, चिनियाँ सरकार र जनताले पनि त्यत्तिकै महत्त्वका साथ हेर्छन् भन्ने छैन । हामी चीनसितको सम्बन्धमा पनि एउटा गलत बुझाइ हावी हुन दिन्छौँ । हामी इतिहासमै रमाएर बस्ने जाति भएकाले ती कुरा महत्त्वपूर्ण लाग्छन् । तर चीनमा कति जनाले अहिलेको नेपाल सम्बन्धमा भृकुटी र अरनिकोको योगदान महत्त्वपूर्ण छ भन्ठान्छन् त ?
हो, नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिएदेखि नै तिब्बत चीनको अभिन्न अंग हो भनेर अन्तर्राष्ट्रिय मञ्चमा भन्दै आएको हो । त्यतिबेलाको चिनियाँ नेतृत्वले नेपालको त्यो अडानको सराहना पनि गरेकै हो । त्यतिबेला मित्रहरूको कमी र पश्चिमा प्रोपागान्डाको सिकार चीनलाई नेपालको अडान महत्त्वपूर्ण पनि थियो । तर अहिले चीनका मित्र धेरै छन् र सबैले तिब्बत उसैको अभिन्न भूभाग हो भनेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसकेका छन् ।
मानौँ, छिमेकीको घरमा भयंकर झगडा भइरहेको थियो । केहीले तपाईंको घरमा छिरेर ढुंगामुढा गर्न थाले । तपाईंले तिनलाई ढुंगामुढा गर्न दिनु भएन । कालान्तरमा गृहकलह शान्त भयो र सबै छिमेकी मिलेर बस्न थाले । यस्तोमा तपाईंले ‘यिनीहरू मैले गर्दा मिले’ भन्नु कति जायज हो ? तिनका लागि नै त्यो विषयको अब महत्त्व छैन भने हामीले सधैँ सम्झाउन खोज्नु भनेको मूर्खता मात्र हो ।
त्यसैले हामीले अझै पनि तिब्बतलाई दुई देशीय सम्बन्धको महत्त्वपूर्ण कडी र नेपाल चीनको भू–अखण्डताका लागि महत्त्वपूर्ण छ भन्नु अहिलेको चीनको सामरिक, आर्थिक शक्तिलाई अवमूल्यन गर्नु मात्र होइन, उसको गृहकलह नै शान्त भएको छैन भन्ने भ्रममा बाँच्नु हो ।
देङ स्याओपिङको उदारवादी नीतिबाट सबल हुँदै गएको अहिलेको चीन बेमौसमी तिब्बती बाजाभन्दा नेपाल आफ्नो आर्थिक विकासको स्वार्थमा चीनसित सहकार्य गरोस् भन्ने पक्षमा छ । ऊ आफ्नो सुरक्षा गर्न आफैँ सक्षम छ । उसले त केवल नेपालले दुईपक्षीय सम्बन्धमा भारत वा अन्य मुलुकलाई नछिराईकन नेपाल–चीन सम्बन्ध दुई मुलुकबीच नै सीमित होस् भन्ने चाहना राख्छ । अरूसित ऊ आफैँ डिल गर्न सक्षम छ । तर हामी अझै नेपाल–चीन सम्बन्धमा भारतसितका समस्या घुसाएर चीन–भारत सम्बन्धमै दरार ल्याउने नीति अवलम्बन गरिरहेका छौँ ।
नेपाल–भारत वा तेस्रो मुलुकसँग चीन कुनै मध्यस्थकर्ता चाहँदैन । ऊ उदाउँदो शक्ति राष्ट्र भएकाले नेपालमा पनि अरू राष्ट्रमा जस्तै ‘सफ्ट पावर’ विस्तार गर्न चाहन्छ । नेपालबाट राम्रो प्रस्ताव आए हाम्रो विकासमा सघाउन चाहन्छ । चीन नेपालले आफ्ना सबै माया, आकांक्षा र समस्या आफ्नो टाउकोमा नथोपरिदियोस् भन्ने चाहना राख्छ ।
हामीले त भारत–चीनलाई बुझेनौँ, बुझेनौँ । उनीहरूले अहिलेको नेपाललाई कति बुझ्छन् त ?
थोपै बुझ्दैनन् । यसको मुख्य कारण हाम्रै नेतृत्व र बुद्धिजीवी वर्ग हो । लम्पसारवादी स्वाभिमानी नेतृत्व र चुइँगमजस्तो कुरा तन्काएर दुई पक्षीय सानो मामिलालाई पनि भूराजनीति र भूरणनीतिका आयामसँग जोड्दै अन्तर्राष्ट्रिय महत्त्व प्रमाणित गर्ने हामीजस्ता शब्दका खेती गर्ने बुद्धिजीवी यसमा जिम्मेवार छन् । अनि, यसलाई कसरी बुझ्ने भनेर दूतावासलाई सल्लाह दिने नेपाली विज्ञहरू । झन् यो पछिल्लो वर्ग त ‘माइन्ड रिडर’ नै हो– दूतावासका कर्मचारीले जे सुन्न चाहन्छन्, त्यही भन्न सक्ने । अनि, यताबाट दिल्ली र बेइजिङलाई उटपट्याङ रिपोर्ट जान्छ अनि उताका पनि झस्किन्छन् ः नेपालमा त हाम्रो प्रभाव गुमिसक्यो अथवा गुम्लाजस्तो छ वा तेस्रो देशले नेपाललाई हाम्राविरुद्ध भाँडिसकेछ भन्दै । यताकाको पनि गलत बुझाइ, उताकाको पनि गलत बुझाइ भएपछि सम्बन्ध जसरी अघि बढ्नुपर्ने हो, बढ्दैन । राकेश सुदजस्ता राजदूत वा नाकाबन्दीजस्तो अप्रिय कदम भारतले लिन्छ, पत्रिकामा छापिएको लेखलाई लिएर चिनियाँ दूतावासले चाहिनेभन्दा बढ्ता कडा विज्ञप्ति निकाल्छ ।
अब भारत र चीनका कूटनीतिक नियोगले पनि आफ्ना स्रोतको दायरा फराकिलो पार्दै आफुले सुन्न नचाहने कुरा गर्न सक्नेहरूसित अन्तर्त्रिया गरेर नेपाली युवा पुस्ताले दुई पक्षीय सम्बन्ध कसरी अगाडि बढोस् भन्ने चाहन्छ, त्यो सोच्नुपर्छ । र, नेपालको सार्वभौमसत्ता र स्वाभिमानको कदर गर्दै कसरी देशको आर्थिक विकासमा सहकार्य गर्न सकिन्छ भनेर सोच्नुपर्ने देखिन्छ ।

Page 33
आवरण

देउवाको दोहोरिने दाउ

रामचन्द्र पौडेल र कृष्ण सिटौला समर्थकहरुलाई पद दिएर महाधिवेशनबाट फेरि सभापति हुने देउवा रणनीति
- सन्तोष आचार्य

कांग्रेस सभापति शेरबहादुर देउवाको चार वर्षीय कार्यकाल सकियो, १९ फागुनमा । त्यसको दुई दिनअघि उनले अकस्मात् ४७ केन्द्रीय विभागमध्ये १३ विभागको प्रमुख तोके । पाँच जनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्न पनि भ्याए ।
संस्थापन इतर पक्ष बिच्किने नै भयो तर देउवाले त्यसको पर्वाह गरेनन् । कार्यकाल सकिने दिन ७ वटा विभागको प्रमुख थपे । विभिन्न पार्टीबाट कांग्रेस भित्रिएका दुई जनालाई केन्द्रीय सदस्य र ६ जनालाई आमन्त्रित केन्द्रीय सदस्य नियुक्त गरे ।
त्यसै दिन देउवाले ३० जनाको जम्बो टोलीका साथ ज्येष्ठ राजनीतिज्ञ सभासमेत गठन गरे । लगत्तै २३ फागुनमा विजय गच्छदारले नेतृत्व गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न भन्दै उक्त पार्टीका ११ जनालाई देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरे । गच्छदारको उक्त पार्टी ३० असोज ०७४ मा कांग्रेससँग एकीकृत भएको थियो । संस्थापन इतरको नेतृत्व गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल झस्किने भइहाले । किनकि पार्टीले ७–१० फागुन ०७७ मा १४ औँ महाधिवेशन मिति घोषणा गरिसकेको छ । संस्थापन इतर पक्षको आरोप छ, देउवाले सहमतिको राजनीति छाडेर महाधिवेशन आफ्नो पक्षमा पार्ने खेल खेले । “लगनपछिको पोते के काम ? कुन काम कति बेला गर्ने भन्ने पार्टीको विधानमै लेखिएको छ । कार्यकाल सकिन लाग्दा सभापतिले जसरी विभागहरू गठन गर्नुभयो, त्यसको कुनै औचित्य छैन,” कांग्रेस नेता प्रकाशमान सिंह भन्छन्, “महाधिवेशनको मिति तोकिसकेपछि आचारसंहिता पनि आकर्षित हुन्छ भन्ने कुरा सभापतिले बिर्सनु हुँदैन ।”
देउवाको फछिल्लो निर्णयले त्रुद्ध पौडेल पक्षको गुनासो किन पनि जायज थियो भने कांग्रेसको नयाँ विधानअनुसार महाधिवेशन सकिएको ६ महिनाभित्र पार्टीको केन्द्रीय विभाग गठन र त्यसलाई पूर्णता दिइसक्नुपर्थ्यो ।
देउवाले महाधिवेशन मिति तोकिसकेपछि गरेका निर्णयलाई आचारसंहिताले छोप्ला कि भन्ने ख्यालै गरेनन् । हालै धनगढी पुगेका देउवाले आफ्नो निर्णयको बचाउ गर्दै भने, ‘सहमति गरौँ, विभाग प्रमुखहरूको नाममा सल्लाह गरौँ भन्दाभन्दै चार वर्ष बित्यो । यसैले मैले निर्णय गरिदिएँ ।’
इतर पक्षलाई सहमतिका लागि आग्रह गर्दागर्दै पनि अटेरी गरेपछि ‘पार्टीलाई अनिर्णयको बन्दी बनाउन नमिल्ने भएकाले उक्त निर्णय गर्न बाध्य भएँ’ भन्ने भाष्य तयार गर्ने चतुर राजनीतिज्ञ देउवाको रणनीति सहजै बुझ्न सकिन्छ ।
यसअघिका सभापति गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मले अपनाएको रणनीतिलाई देउवाले शिरोधार्य गरेको बुझ्न सकिन्छ । पार्टी सभापति निकट स्रोतको दाबीअनुसार विभाग प्रमुख र केन्द्रीय सदस्य अनि ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयनका लागि १६ फागुनमै देउवाले वरिष्ठ नेता पौडेलसँग नाम मागेका थिए । तर भागबन्डामा पौडेलले चित्त नबुझाएपछि २७ वटा विभागको प्रमुख पद खाली राखेरै अन्य २० वटा विभागमा मात्र प्रमुख मनोनयन गरिएको हो ।
संस्थापन इतर पक्षलाई बारम्बार मात दिँदै सिंगो पार्टीभित्र एकछत्र राज गर्न सक्नुको पछाडि देउवाले बनाएको ‘किचन क्याबिनेट’ को सक्रियता पनि महत्त्वपूर्ण छ । यो समूहभित्र देउवालाई न कसैले चुनौती दिन्छ, न त उनले गरेको निर्णयलाई लिएर सार्वजनिक रूपमा कठोर टिप्पणी नै ।

देउवाका १० भाइ
पार्टी सभापति देउवाले १३ औँ महाधिवेशनमा जसरी बाजी मारे, त्यसरी नै आगामी महाधिवेशन आफ्नो पक्षमा पार्न चाहन्छन् । त्यसका निम्ति देउवाका लागि सबभन्दा सहयोगी पात्र हुन्, विमलेन्द्र निधि । उनी पार्टीमा उपसभापतिको जिम्मेवारीमा छन् ।
पछिल्लो समय संस्थापन इतर समूहले केन्द्रीय समिति बहिष्कार गर्दा एक सदस्यीय वार्ता टोलीमा देउवाले यिनैलाई खटाएर तत्कालका लागि विवाद साम्य पारेका थिए । विगतमा गृहमन्त्री हुँदा प्रहरी प्रमुख प्रकरण र विजय गच्छदारलाई समानान्तर भूमिकामा पार्टीभित्र रातो कार्पेट ओछ्याएकामा देउवासँग असन्तुष्ट रहे, निधि । तर पार्टीभित्र देउवा र निधि एकअर्काका सहयोगी हुन् । पार्टी नेता महेन्द्रनारायण निधिका छोरा हुनुको लाभ त छँदै छ ।
पूर्वी तराई क्षेत्रमा विशेष पकड भएका निधिले पार्टीको प्रभावी संगठन नीति अनुसन्धान तथा प्रशिक्षण विभागको नेतृत्वमा हुनुको लाभसमेत पाएका छन् । उनलाई देउवा समूहका आर्किटेक्ट मान्न सकिन्छ । भारतीय संस्थापनसँग खटपट देखिए त्यसलाई सल्टाउन देउवाका लागिसमेत निधि उपयोग हुँदै आएका छन् ।
नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालिसकेका निधिमा राजनीतिक महत्त्वाकांक्षा पनि छ । १४ औँ महाधिवेशनसम्म पुग्दै गर्दासम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति देउवाको पक्षमा हुन नसके विकल्प आफू हुन सकिन्छ कि भन्ने झिनो आशा पनि उनीसँग छ ।
देउवासँग पनि आफू सभापतिको प्रत्यासी हुन नसकेको स्थितिमा निधिलाई अघि सार्नुको विकल्प छैन । घटनाले यस्तो मोड लिएको खण्डमा कांग्रेसको कमान्ड आफूले लिने र देउवापत्नी आरजुलाई पदाधिकारीको भूमिका दिने रणनीति पनि निधिले निकटसँग लुकाएका छैनन् । पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाए देउवालाई अघि सार्ने भारतीय जनता पार्टीको मोडल यिनले अघि
सार्न सक्छन् ।
विजय गच्छदार : ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दा झेलिरहेका गच्छदार देउवाका लागि पार्टीमा अर्का उपयोगी पात्र हुन् । थारु समुदायमा विशेष पकड राख्ने गच्छदार पार्टीमा जसको वर्चस्व रहन्छ, उतै जाने चरित्रका छन् । गच्छदारले ०५७ मा पार्टी विभाजन हुँदा देउवालाई सहयोग गरेका थिए । बीचमा छाडेर गए पनि पुनः उनलाई उपसभापति पद दिएर भित्र्याएका छन् ।
केन्द्रीय समिति र विभाग गठनमा देउवाले गच्छदारका मानिसलाई ठाउँ पनि दिएका छन् । तर गच्छदार राम्रो चुनावी रणनीतिकार हुनुको फाइदा देउवाले लिनेछन् । गच्छदार समूहले पाउने महाधिवेशन प्रतिनिधिको मत देउवाका लागि महत्त्वपूर्ण हुनेछ । गच्छदारको आगामी राजनीतिक भविष्य सुनिश्चित गर्ने वचन दिएका देउवाले उनलाई ललिता निवास प्रकरणबाट जोगाउनुपर्ने चुनौती छ ।
पूर्णबहादुर खड्का : देउवाले निकै पत्याएर महामन्त्रीजस्तो महत्त्वपूर्ण पद सुम्पिए पनि खड्काले प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् । निर्वाचित महामन्त्री शशांक कोइरालाको भूमिका झनै कमजोर भएको लाभ यिनैले पाएका छन् । देउवाले उनलाई पार्टी विधान बनाउनेलगायत काम सुम्पिँदै आएका छन् । खड्काले देउवासँग रहेको जातीय र केही क्षेत्रीय मत जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।
प्रकाशशरण महत : विद्यार्थी राजनीतिमा कुनै बेला लोकप्रिय रहेका महत देउवाका खास सल्लाहकार हुन् । सभापति समूहमा आलोचनात्मक चेतसमेत राख्ने भनेर चिनिएका महत व्यक्तिगत स्तुतिभन्दा पनि पार्टी सभापतिका रूपमा देउवालाई सफल तुल्याउन भूमिका खेल्ने नेताका रूपमा चिनिन्छन् ।
देउवा समूहबाट सार्वजनिक रूपमा समयसापेक्ष दृष्टिकोण दिने ल्याकत राख्ने थोरै नेतामध्येमा पर्छन्, महत । पार्टी सभापतिका रूपमा देउवाले बिगारेका काम सच्याउने महतलाई फाटेको ठाउँ टाल्ने ‘रफु मास्टर’ पनि भनिन्छ ।
बालकृष्ण खाँण : केन्द्रीय सदस्य अनि संसदीय दलको सचेतकको भूमिकामा रहेका खाँण मुर्झाइसकेको तरुण दल र नेविसंघलाई ऊर्जा दिएर पार्टीमा स्थान बनाएका नेता हुन् । प्रदेश ५ मा विशेष पकड राख्ने खाँण महामन्त्री शशांकसँग पनि उत्तिकै नजिक छन् ।
शशांकको जस्तै हिन्दु मतमा उनको पनि विश्वास छ । हिन्दु धर्मको पक्षमा रहेका कांग्रेसको ठूलो पंक्तिसँग खाँण नजिक छन् । देउवाले उनलाई अघि सारेर पार्टीभित्रको त्यो जनमतलाई आगामी महाधिवेशनमा उपयोग गर्न सक्छन् ।
एनपी साउद : विद्यार्थी राजनीतिदेखि नै देउवा निकट रहँदै आएका साउद महत्त्वाकांक्षी नेता हुन् । युवा र शिक्षाको विषयमा देउवा समूहभित्र छलफल गरिने पात्र हुन्, साउद । केन्द्रीय सदस्य साउदलाई देउवाले पछिल्लो समय शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारीसमेत थपिदिएका छन् ।
रमेश लेखक : सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने कानुन पृष्ठभूमिका लेखकलाई बौद्घिक नेताका रूपमा पनि चिनिन्छ । सुदूरपश्चिम कांग्रेसमा देउवापछिको हैसियत बनाएका लेखक केन्द्रीय सदस्य पनि हुन् । देउवाका खास सहयोगीमध्येमा पर्छन्, चाहे त्यो सुदूरपश्चिमको होस् वा राष्ट्रिय राजनीतिमै किन नहोस् ।
प्रदीप गिरि : पार्टीभित्र देउवाको कार्यशैलीको कसैले स्वस्थ आलोचना गर्छ भने ती गिरि नै हुन् । ‘पश्चिमको बहादुर (शेरबहादुर) ले पूर्वका प्रसाद (गिरिजाप्रसाद कोइराला) लाई ठेगान लगाएको’ भन्दै देउवाको प्रशंसामा सार्वजनिक रूपमै बोल्थे कुनै बेला गिरि ।
देउवालाई बौद्घिक खुराक दिने गिरी दक्षिणी छिमेकीसँगको आफ्नो असल सम्बन्धलाई पार्टी सभापतिको हितमा पनि उपयोग गर्छन् । पार्टीभित्र र बाहिर पनि गिरिको आफ्नै ओज छ । त्यसले महाधिवेशनमा यसको लाभ उठाउन देउवालाई सहज हुने नै भयो ।
विश्वप्रकाश शर्मा ः १३ औँ महाधिवेशनमा इतर पक्षमा रहेका कांग्रेसभित्र महत्त्वपूर्ण स्थान राख्नेमध्येमा पर्छन्, शर्मा । इतर पक्षमा रहेका कृष्ण सिटौलालाई झापामा टक्कर दिन सक्ने र सोही पक्षकै गगन थापा, प्रदीप पौडेलजस्ता युवामाझ प्रभावशाली नेताहरूलाई काउन्टर दिनका लागि पनि शर्मा देउवाका लागि उपयोगी पात्र हुन् । त्यसैले उनलाई इतर पक्षबाट फुस्ल्याएर आफ्नो समूहमा भित्र्याउनुका साथै पार्टी प्रवक्ताको जिम्मेवारी पनि दिए । पछिल्लो पटक देउवाले उनलाई सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी सुम्पिएका छन् । देउवाका लागि आगामी महाधिवेशनमा शर्मा उपयोगी हुन सक्नेछन् ।
मीन विश्वकर्मा  ः नेपाल दलित संघमा स्थापनाकालदेखि संलग्न विश्वकर्मा हाल संघको अध्यक्ष छन् । वामपन्थी पृष्ठभूमिबाट कांग्रेस राजनीतिमा छिरेका विश्वकर्मा दलित समुदायलाई देउवा नजिक पुर्‍याउने भूमिकामा छन् । दलितलगायत विषयमा देउवाले यिनैसँग सल्लाह लिन्छन् ।
यसबाहेक ठूलो पंक्तिलाई पनि देउवाले आफ्नो पक्षमा एक ठाउँ राखेका छन् । तर संस्थापन इतर पक्षमा क्षमतावान् र उपयोगी ठानिएकाहरू विभिन्न नेताहरूको छातामुनि ओत लिइरहेका छन् । यसले पनि पौडेलले नेतृत्व गरिरहेजस्तो देखिएको इतर पक्ष अहिलेको स्थितिमा केही कमजोर देखिन्छ ।

रनाहामा पौडेल
देउवाले विभाग प्रमुख मनोनयन मात्र होइन, आमन्त्रित केन्द्रीय सदस्य र ज्येष्ठ राजनीतिज्ञ सभामा गरेको निर्णयमा चित्त दुखाइरह्यो, संस्थापन इतर पक्षको । इतर पक्षका नेता रामचन्द्र पौडेल देउवा निर्णयबाट यतिसम्म क्रुद्घ भए कि उनले ‘सभापतिले राम्रो काम गरेर पार्टीभित्र प्रभाव बढाउनेभन्दा पनि पैसासँग पद बाँडेर आफ्नो वर्चस्व बढाउन खोजेकाले यो निर्णय स्वीकार्य हुन नसक्ने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिए । यो बोली पौडेलका लागि प्रत्युत्पादक भयो ।
चाक्सीबारीस्थित प्रकाशमान सिंह निवासमा २१ फागुनमा भेला भएर संस्थापन इतर समूह देउवाले बोलाउने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय नै गर्न पुग्यो । जस्तो, उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागले गर्ने भनिएको जिल्ला उपसभापतिहरूको प्रशिक्षण इतर पक्षले बहिष्कार गर्‍यो ।
सभापतिले बहुमतको आधारमा निर्णय गरेको भन्दै इतर पक्षले केन्द्रीय समिति पनि बहिष्कार गर्‍यो । तर देउवाले २६ मंसिरदेखि बसेको केन्द्रीय समिति बैठकलाई लम्ब्याउँदै ११ पुसमा विधानका एक दर्जन दफा निलम्बन मात्र गरेनन्, महाधिवेशनको मिति पनि तोकिदिए । विभागको संख्या २८ बाट ४७ पुर्‍याइदिए । यसबाट इतर पक्ष झनै बिच्कियो । यो पक्षले झन्डै ४० जिल्लामा आफ्नो पकड रहेका जिल्ला सभापतिलाई काठमाडौँ डाकेर संस्थापनविरुद्घ भेला गरायो । यसबाट देउवा केही हच्किए ।
सहमतिका आधारमा महाधिवेशन मिति तोक्ने र अन्य निर्णय गर्नेसम्म भन्न भ्याए, देउवाले । विशेषगरी नेपाल विद्यार्थी संघको भागबन्डामा विधान मिचेरै भए पनि संस्थापन इतर पक्षले केन्द्रीय समिति बैठकमा भाग लिएको थियो । यसले भाग मिले सहमति, नभए संस्थापनले विधान मिचेको बात लगाउने रवैया संस्थापन इतरले गर्ने सन्देश पनि गएको छ ।
“आफ्नो अनुकूल भएपछि विधान गौण हुने, प्रतिकूल भए विधानका कुरा उठाइने निर्णय विगतमा पनि देखिएको छ,” युवा नेता नैनसिंह महर भन्छन्, “संसदीय बोर्ड गठन, उपनिर्वाचनको टिकट वितरण गर्दा पदाधिकारीको व्याख्या र नेविसंघको तदर्थ समिति गठन गर्दा विधान पालनाबारे वरिष्ठ नेताजीलगायतले पनि कुरा उठाएनन् ।”
पौडेल पक्षलाई अर्को चोट लाग्यो, गोविन्द भट्टराई सन्दर्भमा । नेविसंघको नेतृत्व गरिसकेका र कांग्रेसको युवापंक्तिमा ठाउँ बनाएका भट्टराई यसअघि पौडेल निकट थिए । तर देउवाले नेपाली जनसम्पर्क समिति समन्वय विभागको ललिपप दिएर उनलाई आफूतिरै ताने । यसअघिको महाधिवेशनमा पौडेल पक्षबाट केन्द्रीय सदस्य जितेका आनन्दप्रसाद ढुंगानालाई देउवाले आफ्नो पक्षमा ल्याइसकेको पौडेलको स्मृतिमा अझै ताजै हुनुपर्छ । कुनै बेला पौडेल निकट मानिएका दाङका कृष्णकिशोर घिमिरेलाई देउवाले केन्द्रीय सदस्य (आमन्त्रित) किन बनाए भन्ने पत्तो नै पाउन सकेनन्, पौडेलले । देउवाले ढुंगानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभागको नेतृत्व दिएर फुस्ल्याइसकेका छन् ।
संस्थापन इतरमा रहेका चीनकाजी श्रेष्ठलाई पनि उद्योग, व्यापार विभागको लगाम सम्हाल्ने मौका दिए । १३ औँ महाधिवेशनको एक साताअघि पुरानो संस्थापन घर छाडेर देउवा समूह प्रवेश गरेका फरमुल्लाह मन्सुरलाई मुस्लिम विभाग दिएर सभापतिले आफ्नो हात बलियो पार्दै गएका छन् । पूर्वी तराई र नेपाली मुस्लिम समाजमा पकड राख्ने मन्सुरको महत्त्व देउवाले नबुझ्ने कुरै भएन ।

चाक्सीबारीमा संस्थापन इतर पक्षको भेला, २१ फागुन । तस्बिर : प्रकाशमान सिंहको फेसबुकबाट

 

सिटौलालाई फुस्ल्याउँदै
विभागदेखि केन्द्रीय समितिसम्म भरिभराउ गर्दा झन्डै तीन हजार कार्यकताले जिम्मेवारी पाउँछन् । स्वाभाविकै छ, जुन नेताले जिम्मेवारी दिन्छ, कार्यकर्ता उसैप्रति नतमस्तक हुन्छ । विभागमा आउने अधिकांश महाधिवेशन प्रतिनिधि हुन्छ र तिनैको निर्णायक मतले खास अर्थ राख्छ । यसैले देउवा दाउ बुझ्न कठिन छैन ।
संस्थापन इतरको दुखेसो पनि देउवाले महाधिवेशन आफ्नो पक्षमा पार्न खोजे भन्ने नै हो । अझ यसमाथि पार्टीभित्र संस्थापन इतर पक्षमै देखिएका र आफ्नो छुट्टै गुट निर्माण गरेका कृष्णप्रसाद सिटौलाले पछिल्लो पटक देउवाको निर्णयको बचाउ मात्र गरेका छैनन्, श्रमिक तथा ट्रेड युनियन विभागमा शिवप्रसाद हुमागाईंलाई नियुक्त गर्न सफल भए । सिटौला समूहका निकट सुधीरकुमार शिवाकोटीले केन्द्रीय समितिमा ठाउँ पाए ।
देउवाले सिटौलाका दाइ डिल्लीप्रसाद सिटौलालाई पनि ज्येष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गर्न भ्याए । यसले पनि पौडेल पक्ष थप संकटमा पर्‍यो । पौडेल पक्षले बोलाएको बैठकमा सिटौला अनुपस्थित रहे । सिटौला पक्षलाई देउवासँग नजिक हुन नदिएर आफूहरू एकजुट हुने पौडेल पक्षको रणनीतिलाई पार्टी सभापतिले हावा खुवाइदिए ।
संस्थापन र इतर पक्षबीच ६० र ४० प्रतिशतको भागबन्डा हुँदा आफ्ना लागि पौडेलले ठाउँ नछाडेकाले पनि सिटौलालाई बिच्क्याएको छ । उनी निकटस्थसँगको कुराकानीमा केन्द्रीय सदस्य, पदाधिकारीसहित आफूले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउँदै आएका छन् । यदि यसो भए त्यसको लाभ देउवाले नै लिनेछन् ।
एकजुट भएर देउवाविरुद्घ उम्मेदवारी दिने संस्थापन इतरको रणनीतिभित्र सिटौला छैनन् । किनभने त्यो पक्षले उनलाई सभापतिका रूपमा स्वीकार्दैन । सिटौलाले पनि पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहलाई नै स्वीकार्छन् । देउवा समूहबाट आफूले उपसभापति र निकटस्थहरूले सम्मानित पद पाए पार्टी सभापतिसँग १४ औँ महाधिवेशनमा सिटौला समूह एकाकार पनि हुन सक्छ । विभाग गठनमा देउवाले सिटौला र आफू निकट पूर्णबहादुर खड्कासँग परामर्श लिएका थिए ।
सिटौलाले पछिल्लो समय झापामा जे बोले, त्यसले देउवालाई हौस्याएको छ, अनि इतर पक्षलाई झस्काएको छ । सिटौला सञ्चारकर्मीमाझ भन्दै थिए, ‘आगामी महाधिवेशनमा म सभापतिको दावेदार होइन भन्ने नठान्नुहोला ।’ यसले इतर पक्षमा सभापतिका लागि एउटै उम्मेदवार उठाउने तयारीमा धक्का लागेको छ । त्यो समूहभित्र पौडेलदेखि प्रकाशमान, शेखर र शशांक सभापतिका दाबेदार छन् । तीमध्ये कसैलाई पनि सिटौला सभापति मान्न तयार छैनन् ।

— प्रकाशमान सिंह
कांग्रेस नेता

लगनपछिको पोते के काम  ? कुन काम कति बेला गर्ने भन्ने पार्टीको विधानमै लेखिएको छ । कार्यकाल सकिन लाग्दा सभापतिले गरेको निर्णयको कुनै औचित्य छैन ।


सम्झौतावादी छवि
०४८ मा गृहमन्त्री भएदेखि राजनीतिक केन्द्रमा रहेका देउवा चार पटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री रहिसकेका छन् । त्यही आधारमा अन्तर्राष्ट्रिय निकायसँगको सम्बन्ध, प्रशासनमा पकड, आन्तरिक शक्ति केन्द्रसँगको हिमचिम, स्रोत जुटाउन र त्यसको परिचालनमा खप्पिस छन् । आफैँलाई केन्द्र भागमा राखेर जस्तोसुकै सम्झौता र सहमति गर्न सक्ने छवि बनाएका देउवा समाजका विभिन्न तप्कालाई भित्र्याएर महाधिवेशन आफ्नो पक्षमा पार्न अघि बढिसकेका छन् ।
मूल्य, मान्यता, आदर्श र सिद्घान्तभन्दा पनि नेपाली समाजको आम चरित्रलाई केन्द्रमा राखेर राजनीति गर्न रुचाउने देउवाले धर्म, जाति, क्षेत्रीयताजस्ता तन्तुलाई आफूसितै जोडेका छन् । सुदूरपश्चिमको राजनीतिको केन्द्रमा उनै छन् ।
मधेसका २२ जिल्लामध्ये अधिकांशमा देउवाले आगामी महाधिवेशनमा आफूलाई मत दिने पंक्ति तयार पारिसकेका छन् । नयाँ विधानअनुसार महाधिवेशन प्रतिनिधि संख्या बढाइएको मात्र छैन, झन्डै आधा संख्या समावेशी चरित्रको बनाइएको छ । समावेशी मत राजनीतिक कम, भावनात्मक बढी हुन्छ । यसको धेरै लाभ देउवालाई हुन सक्छ ।
पार्टीभित्र आफ्नो विरोधी रहेका मोहम्मद आफताव आलम जेल परेपछि देउवालाई केही राहत भएको हुनुपर्छ । यसैले उनले फरमुल्लाह मन्सुरलाई सक्रिय बनाएका छन् । थारु समुदायका विजय गच्छदारदेखि पद्मनारायण चौधरीको जातीय मत देउवाका लागि उपयोगी नै हुनेछ । सिटौलासँग रहेका उमाकान्त चौधरीलाई पनि उनले आफ्नो पोल्टामा पार्न खोजिरहेका छन् । जनजातिका तर्फबाट भीष्मराज आङदम्बेदेखि जिपछिरिङ लामा, तीर्थबहादुर लामा, बहादुरसिंह लामाजस्ता आफ्नो समुदायमा प्रभाव राख्ने व्यक्ति देउवाकै साथमा छन् ।
दलित समुदायबाट मानबहादुरदेखि मीन विश्वकर्माको आफ्नो समुदायमा रहेको प्रभावलाई देउवाले उपयोग गर्ने नै छन् । डिला संग्रौला, चित्रलेखा यादवदेखि डिना उपाध्याय, सीता गुरुङ, अम्बिका बस्नेतलगायतको महिलापंक्ति आफ्नो समूहमा हुनुको फाइदा पनि देउवाले उठाउन सक्छन् ।
अन्य पार्टीबाट प्रवेश गरेका आठ जनालाई देउवाले केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य दिएर आफ्नो समूहमा भित्र्याएका छन् । महाधिवेशनमा यसको लाभ देउवाले नै पाउनेछन् । इतर पक्षले यसको विरोध गर्नुको कारण पनि यही हो ।
१९ फागुनमा देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका सर्लाहीका जंगीलाल राय राजपाको महामन्त्री थिए । डोल्पाका कर्णबहादुर बुढा राप्रपाको केन्द्रीय सदस्य छाडेका नेता हुन् । पूर्वएमाले छाडेका कैलालीका मोहनसिंह राठौर आमन्त्रित केन्द्रीय सदस्य बनाइएका छन् । पूर्वमाओवादीबाट राज्यमन्त्री रहेका सर्लाहीका शम्भुलाल श्रेष्ठलाई पनि देउवाले आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । उनले कपिलवस्तुका अभिषेकप्रताप शाहलाई तत्कालीन मधेसी जनअधिकार फोरम र लमजुङका दयाराम पाण्डेलाई खस/क्षत्री पार्टीबाट आमन्त्रित केन्द्रीय सदस्यका रूपमा पार्टीमा भित्र्याएका छन् ।
यसबाट इतर पक्ष असन्तुष्ट हुने नै भयो । “सभापतिले सबै आग्रहबाट मुक्त भएर, जिम्मेवारीबोध गरेर मात्र निर्णय गर्नुपर्थ्यो । यो सभापतिको जिम्मेवारी पनि हो,” युवा नेता प्रदीप पौडेल भन्छन्, “सभापति आफैँले विवाद चर्काउने काम गर्नु भएन । सबैलाई मिलाएर पार्टीलाई अघि लग्नुपर्ने हो ।”
१३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिँदा जम्माजम्मी ४२ प्रतिशत मात्र मत थियो, देउवासँग । पहिलो चरणमा १ हजार ५ सय ६४, प्रतिस्पर्धी रामचन्द्र पौडेलले १ हजार १ सय ५४ र कृष्ण सिटौलाले ३ सय २४ मत ल्याएका थिए । कुल मतमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो ।
पहिलो चरणमा खसेको ३ हजार १ सय ४८ मतमध्ये १ सय १ बदर भएको थियो । त्यसमा देउवाको पक्षमा खसेको ६३ मत पनि थियो । दोस्रो चरणमा खसेको ३ सय १ सय ४० मतमध्ये सिटौलाको समर्थनसहित १ हजार ८ सय २२ मत पाएर देउवा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी पौडेलले १ हजार २ सय ९६ मत पाएका थिए ।
४२ प्रतिशतबाट सुरु भएको त्यो आँकडालाई देउवाले पछिल्लो समय ६० प्रतिशत हाराहारी पुर्‍याएका छन् भने इतर पक्षले ४० । यसैले आफ्नो ‘हाउस’ लाई मात्र एकजुट बनाइरहन सक्ने हो भने आगामी महाधिवेशन देउवाका लागि केही अनुकूल नै छ । अझ सिटौला समूहलाई आफ्नो पक्षमा पार्न सक्ने गरी पदीय भागबन्डा मिलाउन सके देउवाका लागि अर्को कार्यकाल टाढा छैन ।
यति मात्र होइन, सत्तारुढ नेकपाका लागि पनि कांग्रेस सभापतिका रूपमा देउवाकै निरन्तरता उपयोगी हुन सक्छ । प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा पाइन नापिसकेको नेकपाका लागि देउवाको सम्झौतावादी र सहज स्वभावले राजनीतिक लाभ नै दिन्छ । नेपाली राजनीति ‘मिलेर, बाँडेर’ तहमा पुगेकाले नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि कांग्रेसमा पौडेल, शेखर, शशांक वा सिंहमध्ये देउवा नै पहिलो रोजाइ हुन सक्छन् ।
१४ औँ महाधिवेशनमा इतर पक्ष एकजुट भएर एउटै केन्द्र बनाउन कति सफल हुन्छ  ? सभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यहरूको एउटै मोर्चा बनाउन यो पक्ष सहमत हुन सक्छ कि सक्दैन ? यदि इतर पक्ष यो अभियानमा सफल हुन सके देउवाका लागि चुनौती भने हुन सक्छ ।
सानेपा कांग्रेस मुख्यालयमा देउवाले दोस्रो कार्यकालको निरन्तरता पाउँछन् वा इतर पक्षबाट नयाँ अनुहारले सभापतिको मोर्चा सम्हाल्छ, अहिल्यै आकलन गर्न सकिन्न । अब कांग्रेसपंक्तिको ध्यान देउवाको दाउलाई इतर पक्षले कस्तो ‘काउन्टर’ दिन्छ भन्नेमा केन्द्रित छ । किनकि महाधिवेशनको माथापच्ची जारी छ ।

— नैनसिंह महर
कांग्रेस युवा नेता
आफ्नो अनुकूल भएपछि विधान गौण हुने, प्रतिकूल भए विधानका कुरा उठाइने प्रवृत्ति विगतमा पनि देखिएको छ ।

 

— प्रदीप पौडेल
कांग्रेस युवा नेता 

सभापतिले सबै आग्रहबाट मुक्त भएर, जिम्मेवारीबोध गरेर मात्र निर्णय गर्नुपथ्योर्   । यो सभापतिको जिम्मेवारी पनि हो ।

Page 39
बहस

प्रजातन्त्रको आडमा अप्रजातन्त्रको उदय

- चन्द्रदेव भट्ट

जातन्त्र बीसौँ शताब्दीको सबभन्दा शक्तिशाली राजनीतिक विचारधारा थियो । यो विचारधाराका लागि संसारका आधाभन्दा धेरै मुलुकमा आन्दोलन भए । एक्काइसौँ शताब्दीको पहिलो दशकमा ओरालो लाग्न सुरु भएको यो विचारधारा तेस्रो दशकको सुरुआतमा आएर निकै संकटमा पर्न गएको छ ।
यो संकटबाट बाहिर आउन त्यति सजिलो भने छैन । ‘प्रजातन्त्र’ संकटमा पर्न जाने धेरै कारणमध्ये सबभन्दा प्रमुख कारण यसलाई चलायमान बनाउने पात्रहरूले ल्याउने नीति, नियम तथा राजनीतिक संस्कार हो । पछिल्ला वर्षमा यो निर्वाचित कुलीन वर्ग र प्राविधिक/विज्ञ (टेक्नोक्र्याट) को चंगुलमा पर्न गएको छ, जसले आम नागरिकका समस्यालाई आफ्नो सुविधाका लागि मात्र प्रयोगमा ल्याउने गर्छन् ।
उदारवादी प्रजातन्त्रले धेरै आरोप खेप्नु परेको छ । व्यक्तिगत स्वतन्त्रता र समानताको नाममा समूहगत अधिकार, भिन्नता तथा विविधता बुझ्न नसकेको, बहुमत एवं अल्पमतको नाममा एकअर्काविरुद्ध सुविधाअनुसार प्रयोग गरेर राज्य तथा राष्ट्रबीच द्वन्द्व चर्काएको आरोप
लाग्दै आएको छ । राजनीतिक उदारवादको नाममा केही शाश्वत मूल्य–मान्यतालाई विस्थापन गर्ने कोसिस गरेको परिणामस्वरूप प्रजातन्त्रको अवधारणा नै परिवर्तन गर्नुपर्ने महसुस संसारभरि गरिएको छ । सायद त्यही भएर होला, पछिल्ला दिनमा ‘राष्ट्र–राज्य’ र ‘राज्य–राष्ट्र’ दुवैलाई छाडेर धेरैजसो आधुनिक राष्ट्रहरू आफूलाई ‘सभ्यतामूलक’ राष्ट्र भनेर चिनाउने होडबाजीमा अगाडि बढेका छन् ।
राष्ट्र–राज्यको अवधारणा, भूमण्डलीकरण र प्रविधिबीचको अन्तरद्वन्द्व पनि प्रजातन्त्र संकटमा पर्नु पछाडिको अर्को समस्या हो । किनभने भूमण्डलीकरण, अर्थराजनीति र प्रविधिले राज्यका अवधारणामाथि ठूलो धक्का दिएको छ । यसको सबभन्दा ठूलो असर स्थापित मूल्य–मान्यतामा हुन गएको क्षयीकरण तथा नयाँ मूल्य–मान्यताको आगमन हो । जुन राष्ट्रले राजनीतिक उदारवाद, सामाजिक रुढीवाद तथा अर्थराजनीति र समाजको बदलिँदो पक्षलाई आत्मसात र सन्तुलन गर्न सके त्यस्ता राष्ट्रमा अहिलेको प्रजातान्त्रिक प्रणाली केही वर्षसम्म चल्न सक्ला । नत्र ‘कम्युनिज्म’ पछि सबभन्दा छोटो समयमा अवसान हुने विचारधाराको रूपमा प्रजातान्त्रिक प्रणाली पर्न जाने प्रबल सम्भावना देखिन्छ ।
०६२/६३ को राजनीतिक परिवर्तनपछि आम नागरिकले मुलुकको मुहार फेरिने अपेक्षा गरेका थिए, त्यो पूरा हुन सकेन । मुलुकको वर्तमान राजनीतिक अवस्थालाई हेर्ने हो भने नेता सुहाउँदो प्रजातन्त्रबाहेक जनताले चाहेजस्तो प्रजातन्त्र भविष्यमा पनि उपलब्ध हुने छैन । यसले उठाउने सबभन्दा ठूलो प्रश्न हो, आधुनिक प्रजातन्त्र नेपाली समाजको चरित्रसँग मेल नखाएकै हो
त ? आखिर किन नेपालजस्ता मुलुकले सधैँ प्रजातन्त्रका लागि संघर्ष गर्नुपर्ने हुन्छ ? किन प्रत्येक राजनीतिक आन्दोलनपछि मुलुक पहिलेकै अवस्थामा फर्किन्छ ? नेपालमा प्रत्येक आन्दोलनपछि एउटा वर्गको उत्थान हुने तर आम नागरिकका मुद्दा जहिल्यै ओझेल परेका छन् । आज नेपालको राजनीति ठीक ०४८ लगत्तैको नेपाली कांग्रेसको सरकारपछिको अवस्थामा फर्केको छ । यी सबै घटनाक्रमले के देखाउँछन्– नेपालमा जनता प्रजातन्त्र चाहन्छन् तर राजनीतिकर्मीहरू बढीजसो अवसरवादी छन् । ०४८ सालजस्तै ०६२/६३ पछि पनि राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिले दिन दुगुना रात चौगुना प्रगति हासिल गरे, जनता भने रसातलमा पुगेका देखिन्छन् । आम नागरिकलाई फकाउनका लागि तथाकथित उपलब्धिको रटान गराएर राजनीतिलाई एउटा विशिष्ट वर्गको सुविधाको क्षेत्र बनाउने रणनीति अपनाएको देखिन्छ । यी कारणले गर्दा नै होला, हालै क्याम्ब्रिज विश्वविद्यालयबाट प्रकाशित रिपोर्टमा नेपालीको प्रजातन्त्रप्रतिको आस्था खस्किँदै गएको पाइएको छ ।
पुरातन राज्य, नयाँ विचारधारा : नेपाल संसारका पुरातन राष्ट्रहरूमा अग्रणी रूपमा पर्न जान्छ । आधुनिक राज्य निर्माणको क्रमानुगत विकास हेर्ने हो भने यो २२ औँ स्थानमा पर्न जान्छ । त्यसैगरी प्रजातन्त्रलाई शासन प्रणालीको रूपमा अँगाल्ने राष्ट्रहरूमा पनि नेपाल धेरै देशभन्दा अग्रणी देखिन्छ । सभ्यता र संस्कृति विकासको दृष्टिकोणबाट हेर्ने हो भने नेपाल तथा भारतवर्षका अरू राष्ट्रहरू युरोप र पश्चिमका विकसित राष्ट्रभन्दा निकै अगाडि देखिन्छन् । यति हुँदाहुँदै पनि आखिर किन आधुनिक प्रजातन्त्रले यहाँको भूमिमा जरा गाड्न सकेको छैन
त ? यो अहिलेको सबभन्दा अहं प्रश्न हो । नेपालजस्ता राज्यहरूमा देखिएको एउटा समस्या सभ्यता र राजनीतिक विचारधारासँग पनि सम्बन्धित छ । पुरातन सभ्यता र नयाँ विचारधाराको बीचमा यहाँ तालमेल हुन सकेको छैन । अहिले यो समस्या पश्चिमा मुलुकमा पनि देखिएको छ ।
तेस्रो विश्व र विकसित मुलुकहरूमा प्रजातन्त्र सफल र असफल हुनुका पछाडि मिश्रित कारण देखिन्छन् । विकसित मानिएको पहिलो विश्वका राष्ट्रहरूको प्रजातन्त्र ‘भौतिकवाद’ र यसको दायाँबायाँ विकसित भएका वादबाट पीडित छ । यसले व्यक्तिको भौतिक प्रगतिलाई मात्र केन्द्रमा राखेको, भावना र मूल्य–मान्यतालाई कुनै स्थान दिएको देखिँदैन । राजनीतिक उदारवादको नाममा लोकका मुद्दाहरू छाडेकाले ‘राजनीतिक लोकप्रियतावाद’ को उदय भयो । किनकि राजनीतिक उदारवाद ‘स्वतन्त्रता’ र ‘समानता’ उपभोग गर्न सक्ने निश्चित वर्गका लागि मात्र हुन गयो । यी सबै ‘हिलीबिली’ नागरिकको पहुँचभन्दा परका विषय हुन गए ।
यति भन्दै गर्दा यसको विकल्प ‘कम्युनिज्म’ नभएर राजनीति शक्तिशाली नेताको हातमा पर्न गयो, जसले लोकका मुद्दा समाते । ‘कम्युनिज्म’ असफल विचारधारा साबित भइसकेकाले पहिलो विश्वमा लोकप्रियतावादको विकास भयो भने तेस्रो विश्वको राजनीतिमा व्यक्तिवादको उदय ।
लोकप्रियतावादले राजनीतिमा विपक्षीलाई पनि सखाप पार्‍यो । तेस्रो विश्वमा प्रजातन्त्र व्यक्ति र समाजलाई नियन्त्रण गर्नकै लागि बढी प्रयोग गरेको पाइन्छ । यसैको असर होला, संविधान लागू भएपछि आएका नियम, कानुनको मुख्य उद्देश्य नागरिकलाई नियन्त्रण गर्ने मात्र देखिन्छ ।
यसरी प्रजातन्त्रको नाममा राजनीतिक पार्टीमार्फत राज्य र यसका अंगहरू नियन्त्रण गरेर राज्यलाई ‘पार्टी र नेता’ र तिनका आसेपासेले मात्र भोग गर्न पाउने परम्पराको विकास भएको पाइन्छ । त्यसैगरी नेताहरू तथा चाकरीबाजले यो जन्म र मरणपछि पनि कृत्रिम रूपमा केही व्यक्तिलाई अजम्बरी बनाउने प्रणालीको विकास गरेकाले राजनीतिको उद्देश्य नै फेरिएको देखिन्छ । नेताको नाममा भौतिक संरचनाको नामकरण तथा ठूल्ठूला सालिक निर्माण गर्ने परिपाटीले प्रजातन्त्रको उपहास त गराउँछ नै । यसले ‘भगवान्’ र प्रकृतिको स्थापित मान्यतालाई पनि चुनौती दिँदै छ ।
व्यक्तिको देवत्वकरण गर्ने परम्पराको इतिहास आधुनिक राजनीतिसँगै सुरु भएको हो तर साम्यवादी र सामन्ती (अहिलेको परिप्रेक्ष्यमा मात्र) समाजमा भने यसको गहिरोमा जरो भेट्न सकिन्छ । अर्को पक्ष– पेसेवर राजनीतिज्ञ र तिनका आसेपासेलाई मानपदवी, अलंकार सबै हुने तर सर्वसाधारण नागरिकका लागि भने केही नहुने । यो सबै प्रक्रियामा एउटा वर्गले अर्कोको संरक्षण गरेको पाइन्छ । नेतृत्व तहमा धेरै हदसम्म बाँडीचुँडी खाने चलनै छ ।
यही परिपाटीको उपज होला, केही व्यक्ति जुन व्यवस्था आए पनि पुरस्कृत भइरहने । केही हदसम्म यसलाई मानवीय स्वभाव भनेर छूट दिन सकिन्छ तर कानुनको परिधि नाघेर व्यक्ति संरक्षण गर्ने परिपाटीले समस्या झन् विकराल भएर आएको छ । यसले यो कस्तो प्रजातन्त्र भन्ने प्रश्न जन्माउँछ ? साँच्चै भन्ने हो भने राज्य बलियो बनाउने नाममा नेता र पार्टी बलियो बनाउने तर नागरिकलाई नियन्त्रण गर्ने परिपाटीको विकासले आधुनिक शासन पद्धतिप्रति नै चेतनशील वर्गको वितृष्णा जाग्दै गएको छ । यो चेतनशील वर्ग राजनीतिक (कु) संस्कारले गर्दा राज्यभन्दा वर्तमान अर्थराजनीतिले निर्माण गरेको अवसरसँग बढी अन्तरक्रिया गर्न सजिलो ठान्छ । हामीले साँच्चै बलियो राज्यको चाहना गर्ने हो भने यसले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै रूपमा नागरिकको संरक्षण गर्नु जरुरी हुन्छ र त्यसै किसिमका नियम, कानुन र अवस्थाको सिर्जना गर्नु आवश्यक हुन्छ ।
मलेसिया कि मिलिसिया ः प्रजातन्त्रको नाममा राजनीतिक आन्दोलन गर्ने र विकासको नाममा गरिबीको महोत्सव मनाउने प्रवृत्तिले दक्षिण एसियामा प्रजातन्त्रको अनुभूति धेरैले गर्न सकिरहेका छैनन् । किनकि यी दुइटै प्रकृतिले राजनीतिक सत्ताको निजीकरण, मुनाफाको निजीकरण र गरिबीको वितरण गरेर लामो समयसम्म उदारवाद, समाजवाद र कम्युनिज्मको नाममा सीधासोझा नागरिकलाई अल्मल्याइरहेको छ । अहिलेको प्रजातन्त्र पश्चिमा मुलुकमा लामो समयसम्म छलफल र बहस भएर माथि भनेजस्तै बीसौँ शताब्दीतिर मात्र पूर्ण शासकीय प्रणालीको रूपमा आएको हो । तर यी वाद समाज, अर्थतन्त्र, संस्कृति, परम्परा र नागरिक अधिकार नियन्त्रण गर्नका लागि बौद्धिक ठालूहरूले पहिले नै विकास गरेका हुन् ।
यी वादकै सेरोफेरोमा विभिन्न बहानामा पटक–पटकका राजनीतिक परिवर्तनमार्फत एउटा वर्गले अर्को वर्गलाई विस्थापित गर्ने राजनीतिक परिपाटीको विकास चरम रूपमा अगाडि बढेको पाइन्छ । यो नेपालको अहिलेको रोग भने होइन । शाहवंशीय राजाहरूलाई राणाले बन्धक बनाए, राणालाई प्रजातन्त्रवादीले विस्थापित गरे । आन्तरिक भागबन्डा नमिलेर बाह्य सम्बन्ध स्थापित गर्न असफल भएकाले प्रजातन्त्रवादीहरूलाई राजाले लखेटेर पञ्चायत ल्याए । पञ्चायतलाई फेरि कांग्रेस, कम्युनिस्ट मिलेर पाखा लगाए । यिनलाई फेरि माओवादीले लखेटे । यो परम्परा निरन्तर चलिरहेको छ । अहिले कमरेडहरूबीचको खिचातानी पनि कसले कसलाई, कसरी र कहिले विस्थापित गर्ने भन्ने नै हो । वैद्य कमरेडहरू विस्थापित भइसके । विप्लवहरू अवसरको खोजीमा छन् । पञ्चहरू विलय भइसके । कांग्रेस बेहोस छ । यसलाई होसमा ल्याउन निकै कसरत गर्नुपर्ने हुन्छ । अझै पनि एक थरी कमरेडहरूका लागि आन्दोलन पूरा भएको छैन भने प्रजातन्त्रमा साँच्चै विश्वास गर्नेहरू अलमलमा छन् ।
अरूलाई विरोध गरेर तथा शत्रु देखाएर सत्तामा आएका, आफूसँग कुनै दृष्टिकोण नभएका तर दृष्टिदोष भएका राजनीतिज्ञबाट देश र जनताको भलो हुने सम्भावना कम हुन्छ । एउटा वर्गले अर्को वर्गलाई दोषारोपण गर्ने र त्यहीअनुसार सत्ता समीकरणको विकास गर्ने अहिलेको स्थापित राजनीतिक चरित्र भएको छ । त्यसैगरी कम्युनिस्टहरूले पुँजीवादीलाई र पुँजीवादीले कम्युनिस्टलाई दोषारोपण गर्ने तर हामी नित्य, नैतिक र काम्यमध्ये कुनै पनि कर्म नगर्ने । मार्क्सवादलाई आधार बनाएर कम्युनिस्ट भएकाहरू हिजोका पुँजीवादीभन्दा केही फरक छैनन् र फरक हुने पनि छैनन् । किनकि कम्युनिस्ट फस्टाउनका लागि गरिबी र गरिबहरूको आवश्यकता पर्छ । यो दुवै वर्गलाई भित्र र बाहिर गोलबन्द गर्न वर्ग शत्रुको निर्माण जरुरी हुन्छ । यो प्रक्रियाका लागि कहिले राष्ट्रियतामाथि खतरा देखाइन्छ भने कहिले प्रजातन्त्रमाथि । अर्थात्, जनतालाई डर देखाइराख्नुपर्छ । यिनले बनाएका नीति, नियम पनि यही प्रक्रियालाई सहयोग पुग्ने गरी निर्माण गरिन्छन् । राजनीतिको प्रभावले नीति निर्माणमा हस्तक्षेप गर्ने प्रक्रिया पछिल्ला वर्षहरूमा निकै अगाडि बढेको छ । यती होल्डिङ, गोकर्ण र बालुवाटार जग्गा काण्ड यसैका उपज हुन् । यस्तो प्रक्रियाले नीतिमाथि नै ठूलो प्रश्न उठाएको छ । स्वास्थ्य, शिक्षा र अरू सार्वजनिक क्षेत्र डाँवाडोल छन् । अदालत सर्वसाधारणको पहुँचबाहिर छ । कर्मचारीतन्त्र जनतामाथि हावी छ र आफूलाई शासककै रूपमा प्रस्तुत गर्छ ।
यही बीचमा हामीले अँगालेको विकासको परिपाटीले गाउँ र सहरको बीचमा ठूलो खाडल ल्याएको छ । नवउदारवादको आडमा सुरु भएको डोजरे–विकासले जीवन र जमिन दुवैलाई संकटमा उभ्याएको छ । त्यसैगरी पराधीन अर्थतन्त्र, मौलाएको दलाल पुँजीवादी अर्थव्यवस्था एवं यसको र राजनीतिबीचको साँठगाँठले राज्यलाई नियन्त्रण गरेको छ । दलाल अर्थतन्त्र र राजनीतिले एउटा यस्तो वर्गको निर्माण गरेको छ, जसले जनतालाई सपना बाँड्छ तर सत्ता र समृद्धिको महचाहिँ आफू मात्रै काढ्छ । यस्तो परिस्थितिमा नेपाली राज्यको वर्तमान परिस्थितिलाई कसरी व्याख्या गर्ने ? यसले कसको संरक्षण गर्छ ? यो राज्य कसको हो ? त्यो किनभने पछिल्ला दिनमा नेपाली नागरिक राज्यबाटै ठगिँदै आएका छन् र राज्यले तिनलाई वस्तु विनिमयको रूपमा हेर्छ । वस्तु विनिमियको रूपमा हेर्ने भएकाले आन्तरिक रोजगारी सिर्जना गर्नुको सट्टा श्रम सम्झौता गरेर नागरिकको व्यापार गर्छ । शक्ति र सत्ताबाहिर बाँच्न नसक्ने राजनीतिज्ञहरूको क्रियाकलापबाट प्रजातन्त्र अगाडि पनि बढ्दैन, नागरिकका आवश्यकताको परिपूर्ति हुँदैन । अहिलेको प्रजातन्त्र र विकासको मोडलले नेपाली युवालाई ‘मलेसिया’ पुर्‍याउँछ या ‘मिलिसिया’ बनाउँछ । किनकि लामो समय सत्तामा बसेका व्यक्तिका नै आजका दिनसम्म आधारभूत आवश्यकता परिपूर्ति भएका छैनन् भने अरूका लागि तिनले कहिले र कसरी सोच्न सक्छन् !
सर्वसाधारणका आधारभूत आवश्यकताको समस्या समाधान हुन सक्छ तर शासक वर्गको हुने देखिँदैन ।
स्वदेशमा बेरोजगार र अपहेलित तथा विदेशमा पनि पीडित हुने स्थितिको अन्त्य हाम्रो प्रजातन्त्रले आजका दिनसम्म गर्न सकेको छैन । यस्तो अवस्थामा नेपाली युवा विश्वभरि मौलाउँदै गएका आतंककारी र गैरराज्यकर्ताहरू (नन स्टेट एक्टर्स) को चंगुलमा नपर्लान् पनि भन्न सकिँदैन । अर्को पक्ष, वर्तमान अन्योलकारी समयमा नेपाल फेरि राजनीतिक आन्दोलनको चक्रव्यूहमा पर्ने सम्भावना पनि त्यत्तिकै छ । यस्ता आन्दोलनलाई अगाडि बढाउनका लागि चाहिने विचारधारा, एजेन्डा, नारा र जनशक्तिको हामीकहाँ कमी पनि छैन ।
राजनीतिको बजारीकरण : राजनीतिमा देखिएको बढ्दो बजारीकरणले राज्यलाई चलायमान बनाउने वर्ग र माफियाबीच अन्तरघुलन हुन गएको छ । यो अन्तरघुलनको सबैभन्दा ठूलो असर राजनीतिले लिने निर्णयमा पर्न गएको छ । राजनीतिक दलहरूले नाफा र नोक्सानको आधारमा राजनीतिक निर्णय गर्ने परिपाटीको विकास गरेकाले राजनीतिमा अहिले विभिन्न विसंगति देखिएका छन् । जब बजारको प्रभुत्व राजनीतिमा पर्न जान्छ, त्यस्तो अवस्थामा राजनीतिक पार्टीले गर्ने निर्णय जनताका चाहनाअनुसार हुन सक्दैनन् । किनकि हिजोदेखि नै राज्यको पहिले बजारीकरण भयो र पछि आएर राजनीतिक पार्टीको सहायताबाट निजीकरण भएपछि सापकोटाहरू सभामुख बन्ने भए । वामदेवहरूलाई राष्ट्रिय सभामा जाने वातावरण बन्न सक्ने भयो । तर शिवमायाहरूले भने बजारले निर्माण गरेको शक्ति संरचनासँग सम्झौता गर्नुपर्ने हुन्छ । निर्मला पन्तहरूले न्याय पाउँदैनन् । बजारीकरणको चरम प्रभावले नागरिक समाज पनि खुम्चिन गयो तथा यो पनि बजारकै सिद्धान्तबाट परिचालित हुन गयो । बजारको राजनीतिमा पर्न गएको प्रभाव निर्वाचन प्रक्रियामा प्रस्ट देखिएको छ । यही अवस्था रहे यो भोलिका दिनमा भयावह भएर आउनेछ । त्यतिबेला राजनीतिको सही अर्थमा मृत्यु हुनेछ र बजारको विजय हुनेछ । यस्तो अवस्थामा राजनीति र जनताबीचको सम्बन्ध बजारले निर्धारण गर्नेछ । बजारमा त्यही वर्गको वर्चस्व हुन्छ, जुन समाजमा आर्थिक र राजनीतिक पक्षबाट बलियो हुन्छ ।
परिवर्तनपछि केही नभएको भने भन्न मिल्दैन किनकि हिजो र आजको परिस्थितिमा ज्यादै अन्तर आएको छ, सकारात्मक या नकारात्मक । तर राज्य व्यवस्थाले केही व्यक्तिलाई मात्र धनी बनाउने, राज्य पहुँचवालाको लागि मात्र भएको तथा कानुनी शासनको अभाव भएकाले मध्यम वर्ग र निम्नमध्यम वर्गमा निराशाको बादल मडारिएको छ, जुन स्वाभाविकै हो । यी दुवै वर्गलाई धेरै थोक चाहिन्छ । यो वर्ग धर्म, संस्कृति, परम्परा, विकास, प्रजातन्त्रको विषयमा बढी चिन्ता गर्छ तर उसले चाहेअनुसार न हिजो थियो, न आज छ, न त भोलि हुने अवस्था देखिन्छ । केही वर्ग मात्र धनी हुने र सत्तामा पुग्ने तथा राज्यका संरचना त्यसैका लागि प्रयोग हुने हुनाले माथि उल्लिखित कुनै पनि थोकको संरक्षण गर्न सकिँदैन ।
केही व्यक्तिलाई छाडेर हाम्रो राजनीति र नेतृत्व न हिजो सक्षम थियो, न त आज छ । यो राज्य नेपाली समाज र यसका मूल्य–मान्यताले धानेको हो, जुन हिजो र आजसम्म बलियो नै छ । भोलि के होला भन्न गाह्रो छ । निश्चितचाहिँ के छ भने यही अवस्था रहिरह्यो भने भोलिका दिनमा पनि राजनीतिले सक्षमता हासिल गर्ने सम्भावना कम छ । यस्तो राजनीतिले राष्ट्रिय मात्र होइन, क्षेत्रीय असुरक्षा पनि निर्माण गर्ने प्रबल सम्भावना छ । सायद अहिले नेपालमा देखिएको शक्ति राष्ट्रहरूको संघर्षका पछाडि हाम्रो कच्चा परराष्ट्र नीति जिम्मेवार मानिन्छ । आखिर किन यस्तो भयो त ? हाम्रा नेताहरूलाई यी सबै पक्षको विषयमा ज्ञान नभएको होइन । हाम्रो समस्या ज्ञानको होइन, आत्मज्ञानको हो । आत्मज्ञान अभावमा ज्ञानको
अर्थ रहँदैन । उदाहरणका लागि, रावण शिवका प्रिय शिष्य र ज्ञानको हकमा चतुर्वेदी थिए तर आत्मज्ञानको अभावले आफ्नो र पराईबीचको भिन्नता छुट्याउन सक्दैनथे । उनका लागि आफ्नो त आफ्नो नै भयो तर अरूको पनि आफ्नो बनाउन चाहन्थे । अर्थात्, मन्दोदरी पनि आफ्नै, सीता पनि आफ्नै भन्ने रोगले ग्रसित अन्तरद्वन्द्वबाट पीडित थिए । रावण जब रामको रूपधारण गरेर सीताहरण गर्न जान्थे, उनको ‘रावणत्व’ हराएर जान्थ्यो । हामी सबैले रामको राजनीति अनुसरण गर्न सक्यौँ भने धेरै समस्या समाधान भएर जानेछन् ।

Page 43
पर्यटन

चन्द्र धरातलको झल्को

तीन हजार वर्षभन्दा पुरानो उच्च हिमाली सभ्यता
- घनश्याम खड्का

लोमान्थाङ नजिक ध्येगाउँ  तस्बिरहरू : घनश्याम खड्का

टेथिस जोन नामक पठारिलो उत्तरी भू–भागमा पर्छ, मुस्ताङ । यहाँको भू–दृश्य चन्द्र धरातलजस्तो छ । आकर्षक दृश्य, जैविक विविधतायुक्त मुस्ताङ हिमालपारिका हिमालबीचमा अवस्थित उपत्यकाको रूपमा पनि परिचित छ ।
कालीगण्डकी नदीको एकल जलाधारमा समेटिएको मुस्ताङको उत्तरी भाग तिब्बती पठारको हिस्सा हो । मुस्ताङको अधिकांश भाग सुक्खा बालुवाले ढाकिएको छ । हिमालपारिको मुस्ताङ तिब्बतीयन टेथिस हिमालयभित्र पर्छ । यो सिनोजोइक समय उत्पत्ति भएको मानिन्छ । मुस्ताङको तल्लो भाग मेसोजोइक तथा पेलियोजोइक समयमा बनेको ८ सय ७० भन्दा बढी बाक्लो बालुवा, माटो तथा गेगरका पत्र तहतह परेका छन् ।
यहाँ प्रायः टेथिस सागरको पीँधमा बनेका पत्रे चट्टान पाइन्छन् । कुनै चट्टानमा सामुद्रिक जीवावशेष पाइन्छन्, जसलाई शालिग्राम भनिन्छ । मुस्ताङको भूगोलको उत्पत्ति र भौगोलिक बनावटबारे विदेशी भूगर्भविद्हरूले पनि अध्ययन गरेका छन् ।
मुस्ताङको सबैभन्दा होचो स्थान समुद्री सतहदेखि १ हजार ६ सय ४० थासाङ गाउँपालिका–४ पैह्रो थाप्ला र सबैभन्दा अग्लो निलगिरि नर्थ ७ हजार ६१ मिटरको छ । मुस्ताङमा ६ हजार मिटर अग्ला निलगिरि नर्थ (७०६१ मि), निलगिरि साउथ ६,८३९ मि), याक्काकाङ चुली (६,४६२ मि), टुक्चेचुली (६,९२० मि), दामोदर हिमाल ६,००४ मिटर र धम्पुस चुली ५ हजार ३१३ मिटर रहेका छन् ।
विश्वमा कालीगण्डकी उद्गम थलो दामोदर कुण्ड र काली नदी बग्ने मुस्ताङ क्षेत्रमा मात्र शालिग्राम पाइन्छ । शालिग्राम चट्टानभित्र पाइने जीवात्माका अवशेषमा अमोनाइट जीवावशेष पाइन्छ । यो पानीमा बग्ने ब्राकियोपोड जीवात्मा हो ।
“बालुवाको खातखात परेर बनेको मुस्ताङको भूगोल अनौठो छ । चन्द्रमाको धरातल पनि बालुवा नै बालुवा भएको, होचा डाँडाले भरिएको हुँदा मुस्ताङलाई चन्द्र धरातलको झल्को भनिएको हो,” मुस्ताङबाट प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन भन्छन्, “मुस्ताङको सभ्यता, भौगोलिक बनावट र जीवात्माका प्राचीनता अध्ययन गर्न यहाँको इको म्युजियम पुग्नुपर्छ ।”
मुस्ताङका चारै दिशा हिमालले छुट्याउँछन् । पूर्वमा मुक्तिनाथ हिमाल र दामोदर हिमालले मनाङ जिल्ला, पश्चिममा मुकुट हिमालले डोल्पा, दक्षिणमा निलगिरि साउथ र धौलागिरि हिमालले म्याग्दी र उत्तरमा मुस्ताङभोट हिमाल (धाङधुङमर) चीनको तिब्बतसँग सीमा जोडिएको छ । चीनसँग मुस्ताङको १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ ।
पुरातात्त्विक उत्खननबाट मुस्ताङी सभ्यता ३ हजार वर्षभन्दा पुरानो रहेको पुष्टि भएको छ । थासाङ, घरपझोङ, बाह्रगाउँ मुक्तिनाथ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गरी पाँच वटा स्थानीय तह छन् ।
मुस्ताङ मुखैमा पर्ने घाँसा, ताग्लुङ, धम्पु, कुञ्जो, टिटी, सैरु, खन्ती, लेते, कोवाङ, नाकुङ, नउरीकोट, भुर्जुङकोट, लाजुङ र टुकुचे गाउँलाई थाक सात सय भन्ने गरिन्छ । यहाँ थकाली, दलित, मगर र छन्त्याल जातिको बसोबास छ । थाक सात सयपछिको मार्फा, छैरो, चिमाङ, स्याङ र ठिनी पाँचगाउँ थकाली जातिको आदिभूमि हो । जोमसोम, धुम्वा र साम्ले पछि विस्तार भएका बस्ती हुन् ।

तेजी पर्व, लोमान्थाङ

डुम्बा ताल, मुस्ताङ

 

तस्बिर : गणेशकुमार राई

पाँचगाउँ मार्फा स्याउका लागि प्रख्यात छ । जोमसोमदेखि माथि कागबेनी, खिंगा, ढकारजोङ, झारकोट, मुक्तिनाथ, छोङखोर, झोङ, पुटक, पुरोङ, लुव्रा, पागलिङ, फलेक, तिरी, छुक्साङ, तेताङ, ताङवे, चैले, ध्यागा, घिलिङ र समरगाउँलाई बाह्रगाउँ भनिन्छ । गुरुङ बहुल यी बस्तीमा पश्चिमी तिब्बतको भाषिका ‘सेके’ बोलिन्छ । बुद्ध धर्मपछि बोन धर्म प्रचलनमा छ । लुब्रा गाउँ अद्यावधि बोन धर्मकै आदिबस्ती हो ।
उपल्लो मुस्ताङका घिलिङ, घमी, ढाकमार, चराङ, मराङ, धी, सुर्खाङ, घारा, ताडग्या, ध्ये, ल्हो मानथाङ, नेन्योल, छोस्यार, न्याम्डो, किमालिङ, थिंकर, फुवा र नाम्ग्याल गाउँलाई मुस्ताङ सात थपौला (ल्होमन्थाङ) भनिन्छ । १४०० देखि १६०० बीचको लोमान्थाङ राज्यको उत्तरी सीमा पश्चिम तिब्बत अथवा नांग्रीको सीमाभूमि थियो । हाल खुम्चिएर कोरलामा रहेको छ । लोमान्थाङ क्षेत्रमा लोवा, गुरुङ, विष्ट/ठकुरीहरूको बसोबास छ ।
माटोको सहर : उपल्लो मुस्ताङ विदेशीका लागि अर्धनिषेधित क्षेत्र हो । पुरातात्त्विक अध्ययनअनुसार लोमान्थाङ र वरपरका बस्ती एवं गुफा व्यवस्था करिब ३ हजार वर्ष पुराना हुन् । जुम्लाको खस राज्य अधीनस्थ लोमान्थाङ केही काल तिब्बतको गुङथाङको अधीनस्थ रह्यो ।
विसं १४९७ मा आमपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषण गरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका हुन् । विसं १४९७ देखि १८४६ सम्म छुट्टै स्वतन्त्र राज्यको रूपमा रह्यो । विसं १८४६ सालदेखि लोमान्थाङ बृहत् नेपालमा गाभिएपछि तत्कालीन राजा रणबहादुर शाहले मुस्ताङका तेह्रौँ राजा वाग्याल दोर्जे परवललाई नेपालमा गाभिएको आश्रित राज्यको रूपमा लालमोहर लगाइदिएका थिए ।


लोमान्थाङ समुद्री सतहदेखि ३ हजार ७ सय २० मिटर उचाइमा अवस्थित छ । नेपाल एकीकरणपछि आंशिक अधिकारसहित स्वतन्त्र छाडिएका चार रजौटामध्ये लोमान्थाङमा पनि एक रजौटा रहे । नेपालले लोमान्थाङबाट औपचारिक रूपमा भने ०७४ देखि भुरे राजा/रजौटाको शासनलाई अन्त्य गरेको हो । लोमान्थाङका अन्तिम तथा २५ औँ पुस्ता रजौटा जिग्मे परवल विष्ट हुन् । तर लोमान्थाङी समाजमा अहिले पनि सांस्कृतिक राजा अस्तित्वमा छन् ।
लोमान्थाङ बस्ती पूरै माटोको पर्खालले घेरिएको छ । लोमान्थाङ बस्तीलाई माटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र ८ मिटर अग्लो पर्खालले घेरिएको छ । २ सय ८० मिटर उत्तर–दक्षिण र १ सय ६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ । यस्तो बस्ती सायद कहीँ–कतै अस्तित्वमा नरहेकाले लोमान्थाङ बस्ती विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो ।
लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पा/मैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ । मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण केन्द्र हो । मुस्ताङको तिब्बतसँग धर्म, भाषा, भेषभूषा, रहनसहन, संस्कार, संस्कृति मिल्छ । बालुवाको अनौठो सुक्खा भूगोलले मात्र होइन, कम्युनिस्ट शासन रहेको चीनसँगको सीमावर्ती लोमान्थाङ (कोरला नाका) पर्यटकका लागि कौतूहल हो ।
सीमासम्मै मोटरबाटो पुगेपछि लोमान्थाङ पुग्ने पर्यटकको ओइरो लाग्छ । इलाका प्रहरी कार्यालय छोसेरको अभिलेखअनुसार असोज/कात्तिक दैनिक १२ सयभन्दा बढी आन्तरिक पर्यटक कोरला नाका पुग्छन् । बाह्य पर्यटकलाई भने ०५० देखि मात्र उपल्लो मुस्ताङमा नियन्त्रित रूपमा प्रवेश खुला गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ कार्यालयको अभिलेखअनुसार वार्षिक ४ हजारभन्दा बढी बाह्य पर्यटक लोमान्थाङ पुग्छन् ।
मध्ययुगीन बस्ती लोमान्थाङ र मुस्ताङका प्राचीन बस्ती हेर्ने पर्यटक बढेसँगै रेस्टुराँ, होटल, लज थपिन थालेका छन् । होटल व्यवसायी समितिका अनुसार लोमान्थाङमा ३० लाखदेखि २० करोडसम्म लगानीका ३० होटल छन् । यी होटलका २ सय २८ कोठामा ५ सय बेड क्षमता छ । यो वर्ष थप ५० कोठा थपिँदै छन् । छोसेर र छोनुपमा १२ तथा चराङ र घमीमा पनि १५ भन्दा बढी होटल छन् ।


गुफा सभ्यता : लामा र झुमाहरूले लोमान्थाङका अक्करे भीरहरू खोपेर निर्मित गुफा आश्रयको रूपमा प्रयोग गरेको देखिन्छ । यी गुफा आफैँमा अद्वितीय मात्र छैनन्, तिनले प्राचीन मुस्ताङी जीवनलाई रहस्यमय बनाएका छन् । ती गुफाहरू कसले, किन र कहिले निर्माण गरे ? अझै रहस्यमय छ ।
स्थानीय भाषामा फुग् भनिने गुफाहरू लोमान्थाङ क्षेत्रको धार्मिक एवं सामाजिक जीवनमा आकर्षणका केन्द्र हुन् । एक्याप लोमान्थाङका अनुसार मुस्ताङका विभिन्न गाउँछेउका भीरमा करिब सय हाराहारी मानवनिर्मित गुफा छन् । यीमध्ये झोङ, छोसेर, गार्फुग, लुरी, छ्योजोङ, मेद्राक, चैले, छुक्साङ, टुक्चे, कोवाङ, साम्जोङ आदि प्रमुख हुन् ।
डेढ सय कोठा रहेको ५ तले छोसेरको झोङ गुफा पर्यटकको आकर्षण केन्द्रसमेत हो । गुफाको तला चढ्न काठका भर्‍याङ प्रयोग गरिएका छन् । जोमसोम–लोमान्थाङ–कोरला जोड्ने मोटरबाटोको पारिपट्टि १५ मिनेटमा पुग्न सकिने झोङ गुफामा नेपालीलाई प्रतिव्यक्ति एक सय र विदेशी पर्यटकलाई पाँच सय शुल्क लिने गरिएको छ । बौद्ध गुरुहरूले साधनाका लागि पनि भीर खोपेर गुफा बनाई ध्यान, साधना र अध्ययन गर्ने गरेको भनाइ छ ।
“पहिला–पहिला तिब्बततिरबाट आउने लुटेराबाट धर्मको रक्षा गर्न र धार्मिक गुरुहरूको साधनालाई सिद्धि प्राप्त गर्न यस्ता गुफा बनाइएको हो,” साविक लोमान्थाङ गाविसका सचिव ज्ञानेन्द्र विष्ट भन्छन्, “यहाँका गुफा अलौकिक छन्, हामी आफैँले आफ्नो विगतको अध्ययन नै गर्न सकेका छैनौँ ।”
सन् १९९२–१९९७ सम्म जर्मन र नेपालको पुरातत्त्व विभागका पुरातत्त्वविद्ले मुक्तिनाथपारि मेद्राक पहाडको गुफामा पहिलो पटक मानव शव फेला पारेका थिए । पुरातत्त्व विभागको डीएनए परीक्षण अभिलेखअनुसार उक्त शव २ हजार ४ सय १४ वर्ष पुरानो थियो ।
अमेरिकाको क्यालिफोर्नियास्थित मर्सेट विश्वविद्यालयका डीन मानवशास्त्री मार्क एडलेन्डरपरसमेतको टोलीले उपल्लो मुस्ताङका साम्जोङ गाउँ नजिकको गुफाबाट सन् २०११/१२ मा विभिन्न प्राचीन मानव सभ्यता पुष्टि गर्ने पुरातात्त्विक महत्त्वका वस्तु फेला पारेको थियो ।
“मुस्ताङका विभिन्न गुफाबाट नेपाली तथा विदेशी पुरातत्त्वविद्/अनुसन्धानकर्ताले सुनको मुकुन्डो, मानव कंकाल फेला पारेका थिए,” गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट भन्छन्, “यी पहाडका गुफा केवल गुफा होइनन्, पुर्खाले छाडेको मुस्ताङी सभ्यताको नासो पनि हो । अब स्थानीय सरकारहरू यी गुफा संरक्षणमा जुट्न आवश्यक छ ।”
लोमान्थाङ क्षेत्रमा ऐतिहासिक महत्त्वका राजदरबार पनि छन् । तीमध्ये लोमान्थाङ दरबार, चराङ दरबार र घमी दरबार महत्त्वपूर्ण छन् । अन्य गाउँमा रहेका दरबार भने प्रायः भत्किएर नासिँदै छन् ।
मुस्ताङी राजा अम पालले ईसं १४४० मा निर्माण गरेको लोमान्थाङ दरबार निवर्तमान राजा जिग्मे परवल विष्टले भोगचलन गरिरहेका छन् । पाँचतले यो दरबारको तेस्रो तलासम्मका कोठा अहिले प्रयोगविहीन छन् ।
लोमान्थाङ बस्ती डेढ मिटर फराकिलो र ८ मिटर अग्लो पर्खालले घेरिएको छ । पर्खाल माटो जमाएर बनाइएको छ । लोमान्थाङ प्रवेश गर्ने एउटै मात्र ढोका छ । लोमान्थाङजस्तो बस्ती कहीँ–कतै अस्तित्वमा नरहेकाले पनि यो विश्वकै ऐतिहासिक सम्पदा हो ।
मुस्ताङलाई गुम्बैगुम्बाको जिल्ला पनि भनिन्छ । यहाँ सानाठूला गरी ६४ गुम्बा छन् । मुस्ताङको उपल्लो भेग लोमान्थाङ क्षेत्रमा विभिन्न ऐतिहासिक गुम्बा छन् । बौद्ध धर्म संस्कृतिमा गुम्बालाई ‘तपो कुटी’ भनिन्छ । वास्तुशैलीका गुम्बाले सबैलाई लोभ्याउँछ । लोमान्थाङ क्षेत्रमा मुख्य गरी ज्याम्पा, थुप्छेन, नामग्याल, चराङ, घमी, गिलुङ र नि फुग गुम्बा चर्चित छन् ।
लोमान्थाङको बस्तीभित्र अवस्थित ज्यम्पा गुम्बा नेपालकै सांस्कृतिक सम्पदा हो । यो गुम्बा मुस्ताङी राजा अम पालका छोरा अ गोएन साङपोले बनाएको विश्वास छ । मुस्ताङका यी गुम्बामा मुस्ताङी राजा समढुव परवलले नीलपत्रमा सुनको अक्षरबाट लेखाएका बौद्ध धार्मिक ग्रन्थहरू छन् ।
छ्योर्तेन मुस्ताङको सांस्कृतिक सम्पदा हो । गर्भमा मृतकको अस्तु राखिएको छ । त्यसलाई दुङ्तेन र धार्मिक ग्रन्थ वा छ्योर्तेन भनिन्छ । मुस्ताङका सबै गाउँ प्रवेश गर्ने र बाहिरिने द्वार, बाटा, डाँडाको टुप्पो, गुम्बा वरपर लामो ढुंगाको पर्खाल उठाई छ्योर्तेन बनाइएको हुन्छ ।
घमीगाउँको पारिपट्टि २ सय ७५ मिटर लामो म थाङ (मणि पर्खाल) छ । स्थानीयले मनोकांक्षा पूरा होस् भनेर बौद्ध मन्त्र ‘ॐ मणि पद्मे हुँ’ लेखिएका ढुंगा पर्खालमा चढाउने चलन छ । यो मणि पर्खाल पद्मसम्भवले सुरु गराएको कथन छ ।
शालिग्राम उत्पत्ति स्थलको रूपमा रहेको दामोदर कुण्डबाट बग्ने ध्ये खोलालाई कालीगण्डकीको उद्गम स्थल र त्यस नदी वरपरको पहाडलाई हिन्दुहरू शालिग्राम पर्वत भन्छन् । ढुंगाको भित्री भागमा जीवाशेषको आकार चक्र हुने विशेषता भएका ढुंगा पाइने कालीगण्डकीलाई चक्र नदीले पनि चिनिन्छ ।
मुस्ताङमा मुक्तिनाथ र दामोदर कुण्डमा बाहेक अन्यत्र मन्दिर छैनन् । तीमध्ये तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात् ‘सय पानी’ भनिने बौद्ध तथा हिन्दुको साझा तीर्थ मुक्तिनाथ हो । थोरङ्ला हिमालको फेदीमा ३ हजार ७ सय १० मिटरमा अवस्थित मुक्तिनाथलाई हिन्दुले मुक्ति क्षेत्र र बौद्ध मार्गीले छुमङ ग्यात्सा अर्थात् सय पानी भनेर पुज्छन् । हिन्दुका ५ प्रमुख धाममध्ये मुक्तिनाथ एक हो भने बौद्ध मार्गीका २४ तान्त्रिक स्थानमध्ये छुमिङ ग्यात्स । मन्दिर परिसरमा रहेका एक सय आठ धारामा नुहाउँदा ‘मुक्ति’ मिल्ने जनविश्वास छ ।
मुक्तिनाथ मन्दिर प्र्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने गन्तव्य पनि हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार असोज/कात्तिकमा दुई हजार ६ सय ७ तेस्रो मुलुकका र ६ सय ११ जना भारतीय पर्यटक मुक्तिनाथ पुगे ।
विसं १८७१ मा निर्माण भएको मुक्तिनाथ मन्दिरको दर्शन गर्न बर्सेनि देश–विदेशबाट हजारौँ हिन्दु भक्तजन पुग्ने गरेका छन् । मुक्तिनाथ सदावर्त गुठी कसले र कहिले स्थापना गरेको हो भन्ने यकिन तथ्य प्रमाण भने फेला परेको छैन ।
मुस्ताङमा ढुम्बा, वुर्चोटो ताल, सेकुङ, टिटीलगायत आकर्षक तालतलैया छन् । जोममसोमस्थित एयरपोर्ट छेउमा मुस्ताङ ईको म्युजियम छ । इको म्युजियमभित्र तिब्तीयन सांस्कृतिक परम्पराका वस्तु, जापानी भिक्षु इकाइका वागुचीबारे विस्तृत जानकारी, मुस्ताङका विभिन्न जनजातिको गाउँको तस्बिर तथा तिनले प्रयोगमा ल्याएका २८ सय वर्षभन्दा पुराना सेरामिक भाँडाकुँडा राखिएको छ ।
म्युजियमको अर्को भागमा मुस्ताङ जियोलोजीका फोटा तथा शालिग्राम, चट्टान सजाएर राखिएका छन् । म्युजियमको माथिल्लो तलामा बोन धर्मसम्बन्धी केही पुस्तक र ङ्हयुम भनिने तिब्बतीयन धार्मिक पुस्तकका साथमा बुद्ध, मञ्जुश्री, पद्मसम्भव, अवलोकितेश्वर, दीपंकर, मैत्रेय, स्तुपा, वज्रकिलाया कुबेर आदिका मूर्ति सजाइएका छन् ।
थकाली ‘होमस्टे’ : मुस्ताङ सदरमुकाम जोमसोमको सिरानमा अवस्थित सानो, झुरुप्प परेको परम्परागत थकाली बस्ती, ठिनी छ । थकाली सभ्यताको उद्गम थलो ठिनीको पुरानो नाम भने ‘सुम्प’ हो ।
तिलिचो, निलगिरि उत्तर र दक्षिण हिमालको काखमा अवस्थित ठिनीको पुछारमा कालीगण्डकी नदी बगेको छ । आलु, फापर, गहुँ, जौ र मकै खेती ठिनीको पुर्ख्यौली कृषि प्रणालीलाई आजभोलि स्याउ बगानले ढाक्दै गएको छ । परम्परागत ठेट थकाली ग्रामीण बस्तीमा पछिल्लो तीन वर्षदेखि देश–विदेशका पर्यटक बस्न थालेका छन् । घरका भान्सा र बिस्तारा मोडिफाई हुन थालेका छन् ।
घरपझोङ गाउँपालिका, ५ मा पर्ने ठिनी गाउँका सबै घर परम्परागत मुस्ताङी शैली र सभ्यता नछोडेका माटोले छाएका मुण्डे छन् । मुण्डे घरका छानोछेउ दाउरा मिलाएर राख्नु थाक खोलाको छुट्टै संस्कृति हो । वास्तवमा हिउँ र पानीले माटोको छाना भएको घरको छेउबाट खोलेर चुहिने नहोस् भनेर राखिएको दाउरा कालान्तरमा मुस्ताङको संस्कृति बनेको छ ।
थकाली संग्रहालय ठिनी गाउँको अर्को आकर्षण हो, जहाँ ६ सय वर्ष पुराना बन्दुकदेखि थकाली जातिका भेषभूष र संस्कृतिलाई नजिकबाट हेर्न पाइन्छ । “ठिनी र वरपर पर्यटन विकास गर्न गुरुयोजना बनाएरै लागेका छौँ । यहाँका सम्भावित गन्तव्य र आकर्षणको पहिचान, प्रवर्द्धन र संरक्षणमा जुटेका छौँ । त्यसका लागि सडक र पर्यटनलाई जोड्न चाहन्छौँ,” घरपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङ भन्छिन्, “ठिनीको सिरानमा पर्ने नाम्खेलेकमा भ्यु प्वाइन्ट बनाएका छौँ । तिलिचो लेकमुनिसम्मै सडक पुर्‍याएका छौँ ।” यहाँबाट कोरला नाकासहित उपल्लो मुस्ताङको अधिकांश भाग देख्न सकिन्छ ।

 

अनौठो लोमान्थाङ
उपल्लो मुस्ताङको समाजलाई मुख्यतः दुई भागमा बाँड्न सकिन्छ । एक– छ्यावा अर्थात् धर्मसम्बन्धी काम गर्ने लामा, ढावा, ङाग्पा, झुमाजस्ता व्यक्ति र विवाह गर्नेहरू अर्थात् म्हिग्या । म्हिग्यालाई पनि तीन समूहमा राखिन्छ । कुटाक अर्थात् तत्कालीन राजा, राजपरिवार र उच्च खानदानी विष्ट तथा ठकुरी हुन् । स्हिंवा अर्थात् खेती र व्यापार गर्ने समुदाय । तिनलाई आजकल गुरुङ भनिन्छ । हिगमावा अर्थात् कामी, दमाई, कसाईलाई स्थानीय भाषामा स्येम्पा भनिन्छ । जातीय विभाजन भए पनि छुवाछूतको व्यवहार छैन ।
सिँचाइ, कुलोमा काम गर्दा जग्गाको आधारमा गरिन्छ । यसबाट कम जग्गा हुनेले थोरै दिन र धेरै हुनेले बढी काम गर्नुपर्छ । गाउँमा कसैको घर बनाउँदा गाउँलेले २/३ दिन बिनाज्याला सहयोग गर्ने परम्परा जीवित छ । जन्मदेखि मृत्युसम्म लामा र ढावाको भूमिका रहन्छ । लोमान्थाङ क्षेत्रमा अहिले पनि सांस्कृतिक राजा मानिन्छ ।
यहाँ मुद्दा नभएको व्यक्ति बुद्धिमान र ऋण नभएको व्यक्ति साहू भन्ने मान्यता छ । अधिकांश मुद्दा, झैझगडा परिवार वा गाउँभित्रैबाट छिनोफानो हुने गर्छ । गाउँभित्रका जनावरका लागि साझा गोठालाको व्यवस्था छ ।
छोरा नहुने र छोरा भए पनि आपसी मनमुटाव भए छोरालाई अंशसहित छुट्टाई छोरीलाई घरज्वाइँ ल्याउने अनौठो परम्परा छ, यहाँ । उपल्लो मुस्ताङका महिलाले बख्खुको अगाडि पाङदेन र पछाडि केदेन लगाउँछन् । अगाडिपट्टिको पाङदेन विवाहितले मात्र प्रयोग गर्छन् । विवाहको संकेत नै पाङदेन हो । अधिकांश बच्चाहरूको नाम, बार र गते देवदेवीको नामबाट राखिन्छ । जस्तै, ङिमा–आइतबार, छेचिग–१ गते र झयाम्पा–मैत्रीय ।
६१ वर्ष पुगेपछि गाउँका सबैलाई छ्याङ दिई आफू कामबाट अलग्गिएको सामूहिक जानकारी दिन थरछ्याङ दिइन्छ । निश्चित उमेरपछि दिइने विश्रामको सुविधालाई थरछ्याङ भनिन्छ ।
आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने सामाजिक परम्परालाई ढुकुटी भनिन्छ । ढुकुटीको खास नाम ढुखु हो । ‘ढु’ को अर्थ अन्न र ‘खु’ को अर्थ भकारी । धेरै श्रम खर्चेर कम आय हुने हुँदा आर्थिक अवस्था व्यवस्थित गर्न बहुपति प्रथाले भूमिका खेलेको छ । नयाँ पुस्ताको असहमतिबीच अझै बहुपति प्रथा मान्ने धेरै छन् ।

Page 48
रङ

नयाँ जमानाको कथा खजाना

- राजकुमार बानियाँ

पाठकका रूपमा उनले जहिल्यै
१६ देखि २५ वर्षे उमेर समूहका अनुभूति, भावनात्मक उथलपुथल अनि आरोहअवरोहका कथा पढ्न चाहिन् । आफू र आफ्ना उमेरका प्रतिनिधि पात्र खोजिन् । तर कहिल्यै कसैले लेखेको नपाएपछि आफैँ अघि नसरी धर पाइनन् । र, सिंगो कथाकृति नै आयो, कुमारी प्रश्नहरु ।
कथासंसारमा दुर्गा कार्की मात्र नयाँ होइनन्, कथाका पात्र । पात्रले ल्याउने विषय अनि तिनका अनुभूतिसमेत नितान्त नयाँ छन् । “मैले नयाँ पुस्ताको कथा लेखेकी हुँ तर मेरा पाठक तिनै मात्र होइनन्,” समकालीन साहित्यकी कान्छी कथाकारको दाबी छ, “त्यो उमेर समूहलाई बुझ्न चाहनेले समेत इन्जोय गर्नेछन् ।”
पहिलो कथा लेख्दा दुर्गा १७ वर्षकी थिइन्, अन्तिम कथा लेख्दा २४ । त्यसैले उनको शैली र शिल्पमा विविधता छ । “पुराना कतिपय कथामा मेरो अहिले लगाव छैन,” उनी भन्छिन्, “सम्पादन गर्दा त्यो मौलिकता मर्ने डरले त्यत्तिकै छाडिदिएकी छु ।”
त्यो उमेर समूहका कथा किन लेखिएन त ? दुर्गा आफैँलाई पनि २२–२३ वर्षमा आएर १६–१७ को कथा लेख्न सकस भयो । “मलाई आफ्नै विगतप्रति कहिले हाासो उठ्छ, कहिले दिक्क लाग्छ, कहिले पूर्वाग्रही अनुभव हुन्छ,” उनी भन्छिन्, “सायद अग्रज कथाकारहरुले त्यही जोखिम लिन नचाहेका हुन् ।”
आठ वर्षको अन्तरालमा लेखिएका संग्रहका १३ कथामध्ये १० मा महिला पात्रमुखी छन्, त्यसमा पनि १६ देखि २५ वर्षका युवती । धेरैजसो महिला मुद्दाकै सेरोफेरोमा । “यी कथा मेरा र मेरा वरपरका हुन् । अलिकति म छु, अलिकति बन्न चाहेकी म,” उनी थप्छिन्, “मैले विषयलाई पात्रको आाखाबाटै बुझेकी छु ।”
त्यसो त यहाँ महिलाको विषय लेख्नेबित्तिकै ‘हार्डकोर फेमिनिस्ट’ भन्ने चलन छ । दुर्गाचाहिँ कथामा आफैँलाई खोतल्ने र बुझ्ने स्पेस पाएको अनुभव गर्छिन् । “फेमिनिजमको परिभाषा म, मेरी आमा वा अरुका सन्दर्भमा अलगअलग हुन सक्छ,” उनी भन्छिन्, “मैले बुझेको कुरा मेरा पात्रले बुझ्छन् भन्ने छैन । मेरा कथामा महिलावाद या नारीवाद शब्द छैन । पाठकले त्यस्तो कथा पढिरहेको फिल पनि गर्दैन ।” नारीवादका नाममा प्रत्येक पुरुष पात्रलाई खलनायक या हरेक महिला पात्रलाई विद्रोही नै बनाउनुपर्छ भन्ने उनलाई लाग्दैन । उनी सामाजिक यथार्थलाई जस्ताको तस्तै पस्कन चाहन्छिन् ।
लमजुङ, भोटेओडारको शिक्षक बाबुआमाकी पहिलो सन्तान दुर्गाले गाउँकै बोर्डिङ स्कुल पढिन् । ०६६ को एसएलसीपछि राजधानी पसिन् । डाक्टर बन्ने लक्ष्यका साथ मोर्गन इन्टरनेसनल कलेजमा १२ कक्षासम्म विज्ञान पढिन् । राजनीतिमा रुचि बढेकाले नेपाल ल कलेजमा पाँच वर्षे बीएएलएलबी गरिन् । विद्यार्थी राजनीतिले भने तान्दै तानेन ।
हुम्लाको पाइलटिङ प्रोजेक्टको लोभमा कानुनमा स्नातकोपाधि नलिँदै इन्टरनेसनल आइडिया नामक इन्टर गभर्मेन्टल अर्गनाइजेसन (आईजीओ) मा जागिर खाएकी दुर्गासित वकिलको लाइसेन्स छ तर अदालती अभ्यास गरेकी छैनन् ।
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । उनको घरमा तीन वटा कुखुरा थिए, दुइटा पोथी र एउटा भाले । रातो पोथी अलि दुब्ली थिई । भालेले रातीलाई चारा खान बोलाएर साइड हानेजस्तो लागेछ, उनलाई । त्यही प्रेमकथा लेखेर हजुरआमालाई सुनाइन् । स्कुलमा पनि सबैले मन पराए ।
०६७ मा शिक्षक मासिकमा हिमाल एसोसिएसन र डेनिस दूतावासको आयोजनामा कथा प्रतियोगिता भएको सूचना दिए, पिताले । अनि अन्तिमका केही दिनमा एउटा कथा पठाइन्, ‘ग्यास्ट्रिक खेती र फुच्चे खलाासी ।’ त्यही कथा उत्कृष्ट १० मा पर्‍यो । त्यही क्रममा भेटिएका केदार शर्मा उनको कथाकारिताको गुरु भइदिए । उनले कााचा लेख केलाएर मसलाको मात्रा मिलाउन मात्र सुझाएनन्, ऐनमौकामा सचेत पनि गराए ।


धुलिखेलमा कथा लेखन कार्यशालामा सामेल भएपछि अर्को वर्ष शिक्षक मासिककै प्रतियोगितामा उनको कथा ‘लाइट बाल्ने केटो’ प्रथम भयो । अनि त के चाहियो !
आफूलाई काकतालीमा बनेकी लेखक ठान्छिन्, दुर्गा । “मलाई लाग्छ, एक थरी लेखक आफ्नै प्रयासले बन्छन्, अर्का थरी बनाइन्छन् । म बनाइएकी लेखक हुा,” उनको लाइट नोट छ, “मेरो लेखक बन्ने सोख थिएन, लेखनले भने आकर्षित गर्थ्यो ।”
यसै वर्ष वैशाखतिर पब्लिकेसन नेपालयलाई ‘अदुवा’ कथासँगै पुस्तक छाप्ने प्रस्ताव पठाएकी थिइन् । तर एउटा कथाका आधारमा निर्णय नगरी प्रकाशकले पाण्डुलिपि नै माग्यो । उनले चार–पााच वटा कथा छाडेर १३ वटा छनोट गरिन् र पठाइन् । उनी उत्साही छिन्, “कपीबाहेक मेरा कथा सम्पादन गर्नु परेन ।”
उनलाई नृत्यबाहेक चित्र, गायन सबथोक आउँछ । अहिलेचाहिँ गीत गाउने भान्सामा मात्रै हो । नेपाल वातावरण पत्रकार समूहको टेलिभिजन कार्यक्रम ‘नयाा पुस्ता’ को प्रस्तोता भएर करिब पााच वर्ष काम गरेको अनुभव पनि उनीसँग छ ।
विभिन्न सञ्चार माध्यममा तिखो टिप्पणी लेख्ने दुर्गालाई आफ्ना कथामध्ये ‘साघार’, ‘मनमाया’ र ‘साथे’ मन पर्छन् । उनका कथामा उपन्यासको जस्तो स्वादिलो विस्तार छ । वाचन प्रभावकारी हुनुका साथै कथामा नसोचेको उत्कर्ष आइदिन्छ । पात्र र परिवेश चित्रणमा चनाखो छिन् ।
‘कथामा खेल्न, रिस्क लिन र एक्सपेरिमेन्ट गर्न सक्ने खुबी अग्रगामी कथाकारमा हुनैपर्छ,’ नेत्र एटमको पाठक प्रतिक्रिया छ, ‘आन्विका गिरीको कम्युनिस्टपछि मैले पढ्न पाएको यो उत्कृष्ट नेपाली कथाहरुको सञ्चयन हो ।’
‘अदुवा’, ‘चाउमिन’, ‘फेमिली फोटो’, ‘कुमारी प्रश्न’, ‘कालो चस्मा’ आदिमा उनका कथाका सुन्दर बान्की फेला पर्छन् । कथामा महिला यौनिकता गज्जबसित आएको छ । प्रेमका नाममा युवतीमाथि केयर हैन, कन्ट्रोल भइरहेको उनको फिक्सनल पोस्टमार्टम रिपोर्ट छ ।
यतिका लोभलाग्दो चर्चा–परिचर्चाबीच पनि उपन्यासकारमा बढुवा भइहाल्ने दुर्गाको विचार छैन । उनी फेरि पनि कथाकै किताब निकाल्न चाहन्छिन् । दिमागमा थुप्रै कथा खजाना पाकिरहेका छन् ।

Page 50
कविता

तीन प्रेम कविता

- विनोदविक्रम केसी


ट्राफिक जाम

फसेको छु, ट्राफिक जाममा

अचानक याद आयो
छापामार प्रेमिकाको

दुनियाा बदल्न हतारिएकी थिई जो

हतारैहतारमा जडिदिएकी थिई
मेरो निधारमा एक चुम्बन

र, भनेकी थिई जोसमा
‘मेरो प्यारो कमरेड !
प्रेम द्रुत हुनुपर्छ आाधीजस्तो
सुस्त भयो भने
प्रेम, प्रेम रहादैन
चिप्लेकिरा बन्छ’

फसेको छु, ट्राफिक जाममा
चिप्लेकिराझौ घस्रिरहेछन् गाडीहरू

र, अचानक याद आयो मलाई
बेपत्ता पारिएकी
मेरी छापामार प्रेमिका ।


चमत्कार

मेरा हात थिएनन्
खुट्टा पनि थिएनन्

तिम्रो एक उष्ण स्पर्श
र मतर्फ बढेको
एक मायालु कदमको
चमत्कारपछि

मेरा पखेटा पलाए ।

कालो ऐँसेलु

मेरो मायाको संसार
कालो छ

कालो एोसेलुजस्तै
कालो छ

कालो एोसेलुजस्तै
चम्किलो छ

कालो एोसेलुजस्तै
मीठो छ

मेरो मायाको संसार
कालो छ ।

Page 51
पुस्तक

बाहुनवाद बबन्डर

- राजकुमार बानियाँ

सय वर्षमा पनि माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी सार्वजनिक जीवनमै छन् । जोशी त अझै ठमठम हिँडिरहेका भेटिन्छन् । यस्तो स्थितिमा ९३ वर्षमै डोरबहादुर विष्ट स्मृतिमा मात्र छन्, कसरी भन्ने ? बेलाबखत सुटुक्क एकान्तबासमा जाने गरेका विष्टको अज्ञातबास रहस्यकै गर्भगृहमा छ ।
पुर्ख्यौली थलो जुम्लाको चौधाबीसामा कर्णाली इन्स्टिच्युट नामक गैरसरकारी संस्था खोलेर सामाजिक अध्ययन र व्यावहारिक अनुसन्धानमा लागेका ऊर्जावान् अभियन्ता ‘विष्ट बुबा’ बेपत्ता भएको पनि २५ वर्ष पुगिसकेको छ । २७ पुस ०५२ मा (शाही) नेपाल वायुसेवा निगमको जहाजमा जुम्लाबाट नेपालगन्ज झरेका मानवशास्त्रका प्राध्यापक विष्ट कहाँ छन् ? जनमनमा प्रश्न छँदै छ । अनुवादक वसन्त थापाले विष्ट हराउनुअघि नै फेटालिजम एन्ड डेभलपमेन्टको उल्था थालिसकेका थिए । विष्ट कहिले फर्केलान् र प्रारम्भिक काम देखाउँला भन्दाभन्दै समयले नेटो काट्यो ।
यसबीचमा बरु केसाङ छेतेनले वृत्तचित्र बनाए, कास्ट अवे म्यान । सन् २०१४ मा बनाएको त्यो वृत्तचित्रमा वसन्त बेपत्ता विष्टको खोजीमा निस्केका पात्रका रुपमा छन् । त्यस क्रममा उनी जुम्लादेखि हरिद्वार (भारत) सम्म धाए तर विष्ट कतै भेटिएनन् । तर उनको मनमा घिडघिडो रहिरह्यो, त्यही अनुवादको ।
ब्रिटिसकालीन भारतीय कम्पनी ओरिएन्ट लङम्यानले सन् १९९१ मा छापेको त्यो पुस्तक नेपाली संस्करणमा आउन रजत वर्ष लाग्नुमा कपिराइटलगायतका झमेला पक्कै थिए होलान् । डोरबहादुर विष्ट परिवारले हालसालै प्रकाशनमा ल्याएको यो किताब बहुचर्चित र विवादास्पद किन छ भने यसका पक्ष र विपक्षमा सम्मति–विमति हाराहारीमै छन् ।
आफूले नेपाली समाजको आलोचनात्मक परीक्षण गर्ने दुष्कर मार्ग रोजेको विष्टलाई थाहा नहुने कुरै भएन । खासगरी भाग्यवाद, बाहुनवाद, आफ्नो मान्छे र चाकरी प्रथालाई उनले विकासको अवरोधका रुपमा लिएका छन् । अझ भाग्यवादले बाहुनवाद जन्मायो अनि बाहुनवाद हिन्दुवादले जन्मायो भन्ने उनको तिखो भाष्यले थुप्रैका कन्सिरी अझै तातिरहेको अनुभव हुन्छ । अंग्रेजी भाषामा लेखिएर पनि तीन दशकसम्म बबन्डर मच्याइरहेको पुस्तक सम्भवतः यही हो ।
यतिका स्रोत–साधन हुँदाहुँदै पनि नेपाल किन उँभो लागेन त भनेर उहिल्यै माथापच्ची गरिसकेका रहेछन्, विष्टले । पौरखभन्दा नियतिलाई निर्णायक ठान्ने नेपाली समाजको सटीक चित्र यसले खिचेको छ । नेपालका आदिवासी जनजाति, मधेसी, दलितलगायत पिछडिएको वर्गले जातीय, क्षेत्रीय, सांस्कृतिक, भाषिक विभेदबारे बुझ्ने आदिग्रन्थका रुपमा लिएको छ र उनको छवि कट्टर ब्राह्मणविरोधीका रुपमा स्थापित छ ।
नेपाली जनताप्रति समर्पित गरिएको यो पुस्तकले नेपाली समाजको मूल्य प्रणाली र सामाजिक–सांस्कृतिक पक्ष खोतलेको छ । भाग्यवादमाथिको विश्वासले गरिखाने भावना नष्ट गरेको, लेखेको मात्र पाइन्छ भन्ने (अन्ध) विश्वास सिर्जना गरेको र कुनै पनि समस्याको उद्देश्यमूलक समाधान खोज्न प्रेरित नगरेको विष्टको निष्कर्षमा असहमत हुन पनि गाह्रै छ ।
नेपाली मानवशास्त्रका पिता भनिने विष्ट सामाजिक मूल्य परिवर्तन चाहने र भिन्न तरिकाको सोच्ने चिन्तक लाग्छन् । नेपाली समाजको चिन्तन शैलीमा यसले ल्याएको उथलपुथल अविस्मरणीय छ । विष्टको विचारमा सहमत हुन नसकिए पनि यसको सामयिकता ज्वलन्त छ । सामाजिक विमर्शमा यसले अझै लामो समय ठाउँ पाउने नै छ ।
पुस्तक अद्योपान्त पठनीय किन छ भने अनुवादक प्राज्ञिक लेखनको पोयो फुकाउन सफल भएका छन् । पुस्तकको भाव र भाषा, ढब र शैलीमा उनले चमत्कार नै गरेका छन् । जानेर गल्ती नहोस् र गल्तीजति मेरा भन्ने विनयशीलता पनि उनमा छ ।
मूल कृतिको भाव र स्वभाव नबिगारीकन बोधगम्य बनाउनु अनुवादकको चुनौती हो । आफू मानवशास्त्रको विद्यार्थी नहुँदानहुँदै पनि वसन्तले पारिभाषिक र प्राविधिक शब्दमा गरेको परख सराहनीय छ । यसको अनुवाद किन जटिल छ भने सन्दर्भ सामग्री नै १८ पृष्ठको छ । मानवशास्त्र र समाजशास्त्रका ठेलीमा घोत्लिएर गरिएको अनुवाद विशिष्ट खालको छ ।
अनुवाद शिल्पमा वसन्त आठै अध्यायमा खह्रो उत्रेका छन् । फेटालिजम एन्ड डेभलपमेन्टको उपशीर्षक ‘नेपाल्स स्ट्रगल फर मोडर्नाइजेसन’ को खास्सा अनुवाद गरेका छन्, ‘आधुनिकीकरण हेतु नेपालको जमर्को ।’ यिनै ‘हेतु’ र ‘जमर्को’ नै वसन्त–छाप उल्थाका दृष्टान्त हुन् ।
गम्भीर अध्येताको सर्वथा अभाव हुन थालेको पछिल्लो परिस्थतिमा आएको छ, भाग्यवाद र विकास । नेपाली समाजको मानवशास्त्रीय अध्ययनमा महफ्वपूर्ण ग्रन्थ बनेको यो अनुवादले सामान्य पाठकलाई समेत झकझकाउने विश्वास व्यर्थ हुने छैन ।


भाग्यवाद र विकास
लेखक : डोरबहादुर विष्ट
अनुवाद : वसन्त थापा
प्रकाशक : डोरबहादुर
विष्ट परिवार
पृष्ठ : १८२
मूल्य : ५५० रुपैयाा

Page 52
तीन किताब

थापा–पाँडे शक्ति–संघर्ष

- गुरुङ सुशान्त
राजेश गौतम , इतिहासकार

नेपाल निर्माण क्रममा विकसित ॅथापा–पाँडे’ भारदारहरूबीचको शक्ति–संघर्षमा पाँडे भारदारहरु पराजित भए । नेपालका केही इतिहासकारले दामोदर पाँडेलाई ‘देशद्रोही’ को आरोप लगाए । त्यही आरोपबाट पाँडेलाई मुक्त गर्ने ध्येय सरदार भीमबहादुर पाँडेलिखित राष्ट्रभक्तिको एक झलकको देखिन्छ । त्यस उद्देश्यमा एक हदसम्म पुस्तक सफल पनि छ । नेपालको इतिहास लेखनमा यसलाई नयाँ आयाम मान्न सकिन्छ ।
देशका लागि दुवै परिवारको उत्तिकै त्याग र बलिदान रहे पनि सत्ताखेलको उछिनपाछिनमा पाँडे परिवार पछि पारिए । यसले राष्ट्रको स्वार्थभन्दा पारिवारिक दुस्मनी राजनीतिको केन्द्रमा देखा पर्‍यो । पारिवारिक द्वन्द्वको विकसित रुप भीमसेन थापा र जंगबहादुरको उदयमा पनि देखियो ।
विलासी स्वभावका कारण राजा रणबहादुर शाह भारदारहरुको मात्रै भर पर्थे । परिणाम– नेपालको राजनीति खस्कियो । रणबहादुरसँग रानी कान्तिवतीले राखेको पूर्वसर्तअनुरुप नै भारदारहरु समेटेर गीर्वाणयुद्ध राजा बनाइए । यसपछि राजा, राजराजेश्वरी र भारदारहरुको जटिल त्रयशासनमा मुलुक फस्यो । अन्ततः बाध्य भएर रणबहादुर भारत पुगेर अंग्रेजलाई चिठी लेखे । सिक्किमको राजा बनाइदिन विकल्प पनि दिएका थिए, चिठीमा । तर यताका बलिया भारदारहरुलाई समेत बुझेका अंग्रेजहरुले रणबहादुरको कुरा पत्याएनन् ।
अंग्रेजहरुले क्याप्टेन नक्सलाई नेपाल बुझ्न खटाएका थिए । विदेशी सैनिकलाई नेपाल प्रवेश गराउने–नगराउनेबारे ठूलो विवाद थियो । दामोदर पाँडेले रणबहादुरलाई भारतमै रोक्न भूमिका खेले । विदेशी सैनिक देशभित्रै छिरे सुरक्षा खतरा बढ्ने भएकाले राजाको आडमा अंग्रेजहरु नेपाल प्रवेश नगरुन् भन्नेमा पाँडे सचेत थिए । तर अनेक आरोप खेपेका पाँडेको जेलमा हत्या भयो ।
पुस्तकमा विभिन्न सन्दर्भ सामग्री र ऐतिहासिक प्रमाणका आधारमा दामोदर पाँडेबाट भएका कार्य र योगदानको चर्चा गर्दै उनी देशका लागि आवश्यक व्यक्ति रहेको पुष्टि गरिएको छ । अनेक स्वार्थअनुरुप अपव्याख्या नगरी सही इतिहासदृष्टि प्रस्तुत गर्नु पुस्तकको शक्ति हो ।
नेपालको प्रशासनिक क्षेत्रमा महफ्वपूर्ण र प्रामाणिक पुस्तक हो, द एडमिनिस्ट्रेटिभ सिस्टम अफ नेपाल । एचएन अग्रवाललिखित पुस्तकमा नेपालको प्रशासनिक इतिहासको पृष्ठभूमिमा अड्डा अदालतहरुको स्थापनादेखि सन् १९६० मा राजा महेन्द्रले गरेको सैनिक कू र त्यसपछिका प्रशासनिक परिवर्तन र सुधारसम्म वर्णन गरिएको छ । राणाकाल, पञ्चायतकालदेखि केही यतासम्मका आर्थिक तथा प्रशासनिक कार्य, लालमोहर र घोषणाहरु के कस्ता थिए ? यसको समग्र दस्तावेज हो, किताब ।
लेखनक्रममा लेखकले प्रयोग गरेका सनद, लालपत्र, लालमोहरजस्ता महफ्वपूर्ण सामग्री सिंहदरबारमा भएको आगलागीमा नष्ट भए । त्यसैले तत्कालीन प्रशासनिक पक्षबारे आधिकारिक अध्ययन गर्न यो पुस्तकजत्तिको अर्को प्रामाणिक स्रोत सामग्री छैन । यसले प्रशासनिक नीति व्यवस्थित र बलियो नभए देश कसरी कमजोर हुन्छ भन्ने वास्तविकतालाई व्याख्या गर्छ ।
सरकारले भनेको प्रशासनले नटेर्ने र प्रशासनले भनेको सरकारले नबुझ्ने अवस्था आए मुलुक द्वन्द्वमा फस्ने डर हुन्छ । प्रशासनभित्र अनुशासन नहुँदा देशको सामाजिक, आर्थिक अवस्था मात्रै नभई जनताको अवस्थासमेत नाजुक हुन्छ । आजको प्रशासनिक अवस्थाको आधारभूमि बुझ्न पनि यो किताब गहकिलो आधार–सामग्री हुन सक्छ ।
हामीले झुठो इतिहासलाई कहिलेसम्म साँचो मान्ने भन्ने प्रश्न गर्दै स्वामी प्रपन्नाचार्यले निरन्तर साधना, अध्ययन, अन्वेषण र विश्लेषण गरेर प्राचीन किरात–इतिहास लेखे । किरात को हुन् ? उनीहरुले नेपाल उपत्यकामा कसरी र कहिले शासन गरे ? इतिहासकारले प्रस्ट रुपमा सप्रमाण बताउन नसकेकाले किरातकाललाई पौराणिक कालमै दर्ता गरिन्छ । यसले किरातहरुकै रीतिरिवाज, भाषा, विश्वास–पद्धति, लवाइखुवाइ आदि मुख्य रुपमा चित्रित गर्छ । सारा सांस्कृतिक–ऐतिहासिक विशेषताका आधारमा किरातकाललाई
इतिहासभित्रै राखेर अध्ययन गर्नुपर्ने तर्क गर्छन्, लेखक ।
अर्काको इतिहासको भुत्ला खुइल्याउने र आफ्नो इतिहासको प्रसंगमा खुसी हुने मनोवृत्ति रहुन्जेल हाम्रो वास्तविक इतिहास–लेखन सुरु हुन सक्दैन । यही परिवेशमा रमाउनेहरुलाई गतिलो यथार्थवादी पाठ हो, प्राचीन किरात–इतिहास ।
किताबले विभिन्न धर्मशास्त्र, अर्थशास्त्र, ज्योतिषशास्त्र, काव्य, नाटक र अन्य ऐतिहासिक ग्रन्थमा उल्लेखित किराती रीतिथिति, भाषिक–सांस्कृतिक प्रचलनको आधारमा किरात सभ्यतालाई केलाएको छ । लेखकले नेपालको इतिहासमा सदैव उठिरहने ‘किरात जातिको इतिहासनिष्ठ प्रश्न’ लाई प्रस्ट पार्ने प्रयास गरेका छन् र त्यस प्रश्नलाई सही बाटोमा लैजान मार्ग–निर्देशन गर्न सफल भएका छन् ।

Page 53
क्रिकेट

एसिया कपमा तगारो

नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना
- पवन आचार्य

थाइल्यान्डमा नेपाली टोली  तस्बीर : रमन शिवाकोटी

नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेको कीर्तिमान र ट्वान्टी–ट्वान्टीमा एक सय विकेटको कोसेढुंगालाई बिर्सने हो भने यस पटक नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना मात्रै बन्न पुग्यो ।
एसिया कपको छनोटका रूपमा रहेको प्रतियोगिता खेल्न जानुअघि नेपाली टोलीको मनोबल उच्च थियो । हङकङ, सिंगापुर, मलेसिया र थाइल्यान्ड रहेको इस्टर्न रिजन प्रतियोगिता नेपालले सजिलै जित्ने र एसिया कपको छनोट खेल्ने अनुमान धेरैको थियो । प्रतिस्पर्धीभन्दा नेपाली टोलीको वरीयता पनि माथिको र खेलस्तर पनि उनीहरूभन्दा राम्रो भएकाले त्यो आकलन गलत थिएन । तर नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरियो र एसिया कप खेल्ने सपनामा समेत तगारो लाग्यो ।
एक दिवसीय मान्यता पाएको नेपाली टोलीले अझै एसिया कप खेल्न सकेको छैन । इस्टर्न रिजनका फाइनलिस्ट टोलीले अगस्तमा एसिया कप छनोट खेल्छन् । त्यहाँ उनीहरूको भेट वेस्टर्न रिजनका फाइनलिस्टसँग हुनेछ । राउन्ड रोबिन प्रणालीमा हुने त्यही प्रतियोगिता विजेताले सेप्टेम्बरमा टेस्ट मान्यता प्राप्त ५ राष्ट्रसँग एसिया कप ट्वान्टी–ट्वान्टी खेल्ने अवसर पाउनेछ  ।
खराब सुरुआत : प्रतियोगितामा नेपालको बोहनी नै हारबाट भयो । मलेसियासँग २२ रनले स्तब्ध हुँदा नेपालले १ सय ५५ रनको चुनौती पार गर्न सकेन । खेल सकिन १ बल बाँकी छँदै १ सय ३२ रनमा अलआउट हुँदा नेपालको इनिङ्समा कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८ रनको योगदान गरेका थिए । हङकङविरुद्धको दोस्रो खेलमा पनि नेपालको ब्याटिङ प्रदर्शन कमजोर नै साबित भयो ।
कप्तान ज्ञानेन्द्रको ४६ रनबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । नेपाल खेल सकिन ११ बलअगावै १ सय ११ रनमा प्याक भयो र हङकङसँग ४३ रनले पराजित भयो । लगातार दुई हारपछि नेपालले फाइनल पुग्नका लागि बाँकी २ खेल ठूलो अन्तरमा जित्ने र अन्य टिमको नतिजा आफूअनुकूल हुनुपर्ने समीकरण बन्यो । सोहीअनुरूप २१ फागुनमा नेपालले थाइल्यान्डमाथि ९ विकेटको जित त निकाल्यो । तर दिनको अर्को खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछि नेपाल सिंगापुरसँग खेल्नुअगावै फाइनल नपुग्ने निश्चित भयो ।
थाइल्यान्डलाई ६६ रनमा प्याक गर्ने क्रममा तीव्र गतिका बलर करण केसीले आफ्नो स्पेलमा १२ रन खर्चेर ३ विकेट लिए । खेलको नतिजा छैटौँ ओभरको तेस्रो बलमा आफ्नो पक्षमा पार्ने क्रममा विस्फोटक ब्याटिङ गरेका कुशल मल्लले अविजित ३६ रन जोडे । अन्तिम खेल वर्षाले बिथोलिएपछि नेपालले सिंगापुरसँग अंक बाँड्यो । तालिकामा नेपाल चौथो स्थानमा रहँदा सबै म्याच हारेको आयोजक थाइल्यान्ड पुछारमा रह्यो ।
थाइल्यान्डमा रहेका पत्रकार आदर्श ढकालका अनुसार नेपाली टोली जितका लागि कहिल्यै हतारिएको देखिएन । नेपाली खेलाडीको बडी ल्यांग्वेज पनि नकारात्मक छ । नेपाली टोली डग आउटमा पनि शान्त देखिएको र विकेटको सफलता वा छक्का, चौका प्रहार हुँदा पनि बिरलै खुसीयाली मनाउने गरेको उनले सुनाए । कमजोर ब्याटिङका अलावा नेपाली खेलाडी पहिलो दुई खेलमा गैरजिम्मेवार सट खेल्दा आउट हुन पुगेका थिए । कीर्तिपुरमा गत फेब्रुअरी ५ देखि १२ सम्म विश्वकप क्रिकेट लिग २ मा सहभागी नेपाली टोली र थाइल्यान्डमा रहेको टोलीमा आकाश–जमिनको अन्तर रहेको ढकालको कथन छ ।
नेपाली टोलीका प्रशिक्षक जगत टमाटा पनि राम्रा खेलाडीसमेत खेल्नै नजाने जसरी आउट हुँदा आश्चर्यमा छन् । टिमले विश्वास गरेका र अनुभवी खेलाडीले जिम्मेवारी नबुझ्दा खराब प्रदर्शनको निरन्तरता हुने गरेको बताउँछन् । टमाटा भन्छन्, “देशका लागि खेलिरहेका खेलाडीहरूले जर्सी लगाउनुको अर्थ नै नबुझेजस्तो भान भइरहेको छ । खेलाडीलाई आफ्नो जिम्मेवारीबारे ज्ञान हुनु आवश्यक छ । इस्टर्न रिजनमा हामीले गरेको प्रदर्शन हाम्रो स्तरको होइन । हामीले यस्तो प्रदर्शन गर्‍यौँ, जसलाई विश्वासै गर्न पनि कठिन भइरहेको छ ।”

ओरालो यात्रा ः नेपालको राम्रो पक्ष बलिङ भनिए पनि प्रतियोगितामा नेपालले खेलेको पहिलो दुई खेलमा १ सय ५० भन्दा बढी रन खर्चियो । ट्वान्टी–ट्वान्टी प्रतियोगितामा नेपालले लगातार २ खेलमा अहिलेसम्म १ सय ५० रनभन्दा बढी खर्चेको थिएन । कमजोर ब्याटिङका कारण नेपालले कुनै पनि खेलमा १ सय ५० भन्दा बढी चेज गर्न सक्ने अवस्था पनि भएन । ओपनिङ लाइनमा पहिलेबाटै समस्या रहे पनि हङकङविरुद्धको खेलमा नेपालको मिडल अर्डर पनि चलेन । बरु त्यो खेलमा ओपनरहरूले राम्रो प्रदर्शन गरेका थिए । प्रतियोगिताकै कमजोर टोली थाइल्यान्डले फ्ल्याट पिचमा आक्रामक सट खेल्यो तर नेपाली ब्याट्सम्यान लामो सट खेल्ने क्रममा बाउन्ड्रीमा क्याच हुन पुगे । क्रिकेट विश्लेषक विनोद पाण्डे ग्राउन्डको अवस्था बुझेर खेल्न नसक्दा पनि नेपाली टोली पराजित भएको बताउँछन् । यसअघि सिंगापुरमा र अहिले थाइल्यान्डमा पनि फ्ल्याट पिच र स्पिन ट्र्याक भएकाले सोहीअनुसार खेल्नुपर्नेमा कन्डिसन एप्लाइ गर्न पनि नेपाल चुकेको उनको बुझाइ छ । “नेपाली टोली अहिले ट्वान्टी–ट्वान्टी फर्म्याटमा खेलिरहेको छैन । ५० ओभरको टार्गेट लिएर २० ओभरमा अलआउट भएजस्तो अवस्था नेपाली टोलीको छ । खेलाडीले टिम गेम खेलेका छैनन् । व्यक्तिगत रूपमा मात्रै खेलेजस्तो देखिएको छ । नेपाली खेलाडीले जिम्मेवारी नै भुलेजस्तो छ,” पाण्डे भन्छन् ।
एकपछि अर्को हार र खराब प्रदर्शनले नेपाललाई ट्वान्टी–ट्वान्टी विश्वकप २०२१ को ग्लोबल छनोटमा राख्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको लबिइङसमेत प्रभावित हुन सक्ने खतरा बढेको छ । पाण्डे थप्छन्, “विश्व क्रिकेट भनेकै लबिइङ पनि हो । आईसीसीले जुन टिमले राम्रो प्रदर्शन गर्छ, उसैलाई लबिइङ गर्ने हो । नेपाललाई सीधै ग्लोबल छनोटमा पार्ने आईसीसीको निर्णयबारे व्यापक विरोध भइरहेको छ । यस्तोमा नेपालको प्रदर्शन अस्थिर हुँदा ठूलो घाटा लाग्न सक्छ ।”
ग्लोबल छनोटमा पर्दा नेपाली टोलीले म्याच एक्सपोजरका साथै आफूभन्दा राम्रा टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउँछ । खेलाडीले पनि एक्सपोजर पाउँछन् । तर आफूभन्दा कमजोर टिमसँग लगातार पराजित हुँदै जाने क्रम बढेपछि त्यसले खेलाडीको मनोविज्ञानमा पनि नकारात्मक असर पुग्ने विश्लेषक पाण्डे सुनाउँछन् ।
नेपाली टोलीका पूर्वकप्तान एवं १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दास पनि राष्ट्रिय टोलीको प्रदर्शनबाट सन्तुष्ट छैनन् । नेपाली टोली सम्पूर्ण रूपमा टिमजस्तो नदेखिएको उनको अनुभव छ । क्रिकेट संघको आगमनपछि अब फास्ट ट्र्याकबाट काम गर्ने बेला आएको उनको सुझाव छ ।
कीर्तिमानी सन्दीप ः सन्दीप लामिछाने ट्वान्टी–ट्वान्टी क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध तीन विकेट लिएपछि उनले सय विकेटको कोसेढुंगा पार गरेका हुन् । ट्वान्टी–ट्वान्टीको ७७ वटा म्याचमा उनले हालसम्म १ सय ५ विकेट लिइसकेका छन् । इस्टर्न रिजन प्रतियोगितामै सन्दीपले हङकङविरुद्ध २ र थाइल्यान्डविरुद्ध १ विकेट लिए ।
लेग स्पिनर लामिछानेले थाइल्यान्डविरुद्धको खेलमा अर्को कीर्तिमान पनि बनाए । उनले लगातार २२ बलमा एक रन पनि नदिने कीर्तिमान राखे । आफ्नो स्पेलमा उनले ३ मेडन ओभर फ्याँक्दै ९ रन खर्चेर १ विकेट लिए । यसअघि पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरको नाममा २१ डट बलको कीर्तिमान थियो । उनले युएईविरुद्ध सो कीर्तिमाान राखेका थिए ।
तिनै कीर्तिमानी सन्दीप पनि नेपाली टोलीको प्रदर्शनबाट सन्तुष्ट छैनन् । नेपाली क्रिकेटमा धेरै सुधारको खाँचो औँल्याउने उनी अहिले नै त्यसमा सुधार नआए दुर्घटनामा पर्न सक्ने चेतावनी दिन्छन् । भन्छन्, “हाम्रो लक्ष्य विश्व कप, एसिया कपजस्तो स्तरसम्म पुग्ने हुनुपर्छ । तर यस्तै अवस्था रहिरहे त्यो कहिले खेल्ने हो, थाहा छैन । यदि खेलाडी, प्रशिक्षक, नेपाल क्रिकेट संघ सबै नेपाली क्रिकेटको स्तर सुधार्नतिर नलाग्ने हो भने नेपालले पनि क्रिकेट खेल्ने गर्थ्यो भन्ने स्थिति नआउला भन्न सकिन्न ।”

Page 55
कोलाज

‘ठूला काण्डमा पार्टी हेर्दिनँ’

- मनबहादुर बस्नेत
अजयबाबु शिवाकोटी

सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार घटना र सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस काण्डलाई पत्रकार अजयबाबु शिवाकोटीले हाम्राकुराडटकममार्फत सतहमा ल्याइदिएपछि दुवै पदच्युत भए । शिवाकोटीले यसैकारण आफूमाथि धम्की आइरहेको भन्दै सुरक्षा चिन्ता व्यक्त गरिरहेका छन् ।

दुई हाई प्रोफाइलका गलत काम बाहिर ल्याएपछिको अनुभव कस्तो रह्यो ?
दुवै राजनीतिका प्रभावशाली व्यक्ति थिए । महरा प्रकरण मेरो जीवनकै पहिलो चुनौतीपूर्ण काम भयो । त्यसमा त आकाशबाट हाम फाल्दा प्यारासुट खुल्छ/खुल्दैन, नखुलेमा डुबिन्छ भनेजस्तो डर र शंका थियो । अप्ठेरा स्थिति आए कानुनी बचाउ गर्न सकिने प्रमाण पाएपछि बाहिर ल्यायौँ । बाँस्कोटा प्रकरणमा चाहिँ धम्कीको तह बढ्यो । सायद प्रधानमन्त्रीको नजिकको व्यक्ति भएकाले होला ।

धम्की कहाँबाट आएको थियो ?
पहिलोमा नचिनेका मानिसले फोन गर्थे । पछिल्लोमा फोन गरेर धम्काउने भन्दा पनि सामाजिक सञ्जालमा तर्साउने गरे । पछिल्लो संगठित रुपमै लागेका थिए । अझै उनीहरुबाट खतरा देख्दै छु । राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडिया र त्यससम्बन्धी संघसंस्थाको साथले मलाई यस्ता काममा उत्साही बनाएको छ ।

प्रहरीमा सुरक्षा माग्नुभएको थियो, अब खतरामुक्त हो ?
पहिलो घटनापछि म आफैँले प्रहरीलाई सुरक्षाको आग्रह गरेको थिएँ, उहाँहरुको पृष्ठभूमि हिंसात्मक भएकाले । पछिल्लो प्रकरणपछि चाहिँ प्रहरीले नै घर तथा कार्यालयमा सुरक्षा निगरानी गरिरहेको छ ।
प्रमाणसहित आउँदा पनि प्रधानमन्त्रीले उक्त प्रकरणको प्रतिरक्षा गरे । मुद्दा स्थापित गर्न पत्रकारितामा सूचना दिएर मात्रै नहुने रहेछ, होइन ?
न्यायिक सम्पादनमा प्रवेश गर्ने हाम्रो काम होइन । हामीले सूचना ल्यायौँ । त्यसका आधारमा राज्यका निकायहरुले बाँकी खोजेर टुंगोमा पुर्‍याउनुपर्ने हो । तर ती निकाय शक्ति केन्द्रबाट प्रभावित हुन्छन् ।

तपाईंले अदालतमा ‘सफ्ट’ बयान दिएकाले महराको मुद्दा कमजोर बनेको आरोप छ । किन त्यस्तो गर्नुभयो ?
पीडित आफैँ प्रमाण हो भनेर उनको भनाइकै आधारमा भिडियोसहित समाचार लेखियो । अदालतमा मैले त्यही भनेँ । पीडित, प्रमाणको सुरक्षा मेरो क्षेत्राधिकार होइन । त्यसैले अदालतलाई मैले ‘मिसलिड’ गर्ने कुरै आउँदैन । बरु पीडित भोलिपल्टदेखि सामाजिक सञ्जाल र केही मिडियामा किन यु टर्न भइन्, राज्यले अनुसन्धान गर्नुपर्थ्यो । यसले पत्रकार नै पीडित भयो ।
त्यति नाम नचलेको मिडियामार्फत दुई प्रभावशाली व्यक्तिको पद ढालिदिनुभयो ।
कसैले लेखेको थियो, बिग न्युज कम्स फ्रम स्मल न्युजरुम । मिडिया ठूलो/सानोले ताफ्विक अर्थ नराख्ने रहेछ । अनुसन्धानमूलक गतिला सामग्री दिन सक्यो भने पुग्दो रहेछ ।

यो बदलाव प्रविधिले ल्याएको हो ?
ठूला मिडियाले जेलाई मूलधारको सामग्री होइन भन्छन्, वैकल्पिक मिडियाले त्यो कुरा उठान गरिरहेको छ । भाइरल बनेपछि मूलधारे मिडियाले कभर गर्नैपर्ने बाध्यता छ । नत्र पछि परिन्छ भन्ने सोच्छन् ।

तपाईंमाथि आफ्ना नेता (कांग्रेस) लाई जोगाएर नेकपाको मात्र खेदो खनेको आरोप छ नि ?
भोट हाल्दा त्यो विचार आउला तर लेख्दै गर्दा कुन पार्टीसँग छु भन्ने बिर्सन्छु । फेरि यस्ता ठूला काण्डबारे सूचना आउँदा पार्टी हेर्दैनौँ । भोलि जुनसुकै पक्ष, पार्टीको यस्ता प्रमाण भेटिए मोलाहिजा गर्दैनौँ ।

Page 56
नगरकोटी क्याफे

मुझे ग्रेभयार्ड ले चलो !

- नेपाल संवाददाता

ऊनुनिलो युवती थिई । नमकयुक्त । त्यस्तै हुनुपर्छ । उसको त्वचालाई जिब्रोले स्पर्श गर्दा लवणको मात्रा अधिक पाइन्थ्यो होला । अंगवस्त्रको नाममा उसको तैल देहमा ब्लु ब्रा र पिंक प्यान्टी मात्र थिए ।
आचार्य वात्स्यायनले देख्दा हुन् त, कामसूत्रमा उक्त सेक्सिली युवतीलाई पद्मिनी र चित्रिणीबीचको क्याटेगोरीमा समावेश गर्दा हुन् ।
गोवाको बागा–बिचमा समुद्रको छालसरी मन्दमन्द चालमा ऊ हामीसामु आएकी थिई र एउटा डीभीडी देखाउँदै भनेकी थिई, ‘प्लिज, डु मी अ फेभर गायज् । आई कान्ट टेक दिस फिल्म विथ मी इन्टु द सी । विल यु प्लिज किप दिस फर मी ? आई विल बी ब्याक सुन् ।’ फिल्मलाई हाम्रो जिम्मा लगाएर ऊ समुद्रमा हेलिन गएकी थिई ।
उपन्यासकार गनेस–पैताला–पौडेल र गीतकार भूपेन्द्र खड्काले युवतीलाई अरेबियन सागरको छालमा नबिलाउन्जेल –एज इफ हिप्नोटाइज्ड– अपलक हेरिरहे । मैलेचाहिँ फिल्मको टाइटल हेरेँ– अंकल बुन्मी : हु क्यान रिकल हिज पास्ट लाइभ्स । अ फिल्म फ्रम थाइल्यान्ड । डिरेक्टेड बाई अपिचात्पोङ विरासेन्थाकुल ।
समय व्यतीत भइरहेको थियो । अपराह्नको घाममा हाम्रो छाया शनैःशनै सर्दैसर्दै ब्राउन बालुवामा कछुवाझैँ घिस्रिरहेको थियो । समुद्रमा नुहाउन गएकी अपरिचिता भने अझै फर्केर आइन । कतिन्जेल पर्खिबस्ने  ! गीतकार र उपन्यासकार क्रमशः जेट स्की र प्यारासेलिङ गरीवरी आइसकेपछि मैले भनेँ, ‘तपाईंहरु साँझ नाइट क्लब जाने हो क्यारे  ! त्यहाँ मजस्तो जोगीको के काम ? तसर्थ मचाहिँ लागेँ, अब गोवाका ग्रेभयार्डहरुतिर । ओके गायज् ?”
भ्राताश्रीहरुले मलाई अविश्वसनीय पाराले हेर्दा भया । गनेसले मलाई थर्ड डिग्रीको व्यंग्य गर्दै भन्दा भया, ‘काम कुरा एकातिर कुम्लोमा आफ्नै लास बोकी चिहानतिर भनेको यही हो ।’ भूपेन्द्र पनि के कम ! उसले पनि मकन वचन लगाउँदा भया, ‘तपाईंलाई त स्वर्गमा लगेर छाडिदिए, त्यहाँ पनि ग्रेभयार्ड नै खोज्नुहुन्छ होला । हगि दाइ ?’
हो नि त !
उप्रान्त मैले ब्रो–श्रीहरुसित बिदा मागेँ । मनमौजी तालमा ट्याक्सी स्ट्यान्ड पुगेँ । शिरमा श्रीपेचसमान भव्य पगडी पहिरेका पञ्जाबी चालकलाई बिन्दास मुडमा भनेँ, ‘ऐसा करो जहाँपनाह, मुझे ग्रेभयार्ड ले चलो ।’

यस्तो प्रतीत हुन्थ्यो, ग्रेभयार्डमा उपस्थित सबै मलामीहरु मलाई नै पर्खिबसेका हुन् ।
चिहानकै पहरेदार हुन् कि झैँ लाग्ने कोकोनट पाम ट्रिजमुनि काला वस्त्रधारी मलामीहरु कफिन बक्सवरपर अर्धवर्तुलाकारमा चुपचाप उभिएका थिए । कफिन बक्सभित्र भने खुट्टा लम्पसारेर बसेका वृद्ध मनुवा थिए, जो मलाई आँखा नझिम्क्याईकन हेरिरहेका थिए ।
कफिन–बक्सको केही दूरीमा टेलिभिजन सेट थियो, विथ साउन्ड सिस्टम एन्ड डीभीडी प्लेयर ।
यस्तैमा चस्माधारी पादरी मसामु आइपुगे । निजले मलाई भीडतिर लिएर गए । चिहानको अनौठो परिवेशबारे बताउन थाले, ‘मैले अन्तिम प्रार्थना गरेपछि मृतकलाई खाल्डोमा विसर्जन गर्नै लाग्दा कफिन बक्सभित्रबाट औँलाले नक–नक, नक–नक गरेको आवाज सुनियो । कफिन–बक्सलाई हतारहतार खोलियो । डेडम्यान त जिउँदिएको थियो ।’
पादरीका अनुसार डेडम्यानले यसो भनेछ, ‘मेरो अन्तिम इच्छा पूरा नै भएको छैन । मलाई जिउँदै गाडिदिने ? म चिहानमा बसी फिल्म हेर्न चाहन्छु । फिल्म हेर्दाहेर्दै मेरो प्राण जाओस्, यही चाहन्छु ।’ पादरीले आफ्नो कुरा जारी राखे, ‘त्यसपछि हामीले टीभी स्क्रिन र डेकको व्यवस्था गर्‍यौँ र एउटी युवतीलाई पर्खन थाल्यौँ, जसले अंकल बुन्मी : हु क्यान रिकल हिज पास्ट लाइभ्स नामक मृतकले इच्छाएको फिल्म ल्याउनेछे । तर युवतीको सट्टा तपाईं आएकामा हामी चकित परेका छौँ । तपाईं खासमा को हुनुहुन्छ ?’
म को थिएँ ? यो महफ्वपूर्ण प्रसंग थिएन । म अप्रासांगिक एवं असान्दर्भिक थिएँ । मुख्य कुरा त फिल्म थियो । म केही नबोली स्क्रिनसामु गएँ र डीभीडी प्लेयरमा फिल्म घुसाएँ । लगत्तै चिहानमा फिल्मको स्क्रिनिङ भइगयो । चियर्स !
त्यो अद्भुत साँझ अचेल पनि म यदाकदा सम्झने गर्छु । सहरमा जब कसैले अपिचात्पोङ विरासेन्थाकुलका स्वप्निल फिल्महरुबारे चर्चा गर्छ, म उनको मोडर्न मास्टरपिस अंकल बोन्मीः हु क्यान रिकल हिज पास्ट लाइभ्स सम्झन्छु, जसलाई मैले गोवाको ग्रेभयार्डमा प्रेतात्माहरुसित बसी हेरेको थिएँ ।

Page 57
नेपाल मण्डल

थारु लोककला

- नेपाल संवाददाता

चितवनको भरतपुर थारु लोककलाको आधारभूमि हो । लोककला अर्थात् रैथाने कला । यसै लोककलालाई प्रवर्द्धन र संरक्षण गर्न भरतपुरमा तीन दिने लोक कला प्रशिक्षण झएको छ ।
चितवनमा आदिवासी थार समुदायले बनाउने लोककला निकै समृद्ध र वैझवशाली छ । जंगल, जनावर र थार आदिवासीको भूमि चितवनको लोककलाले देशको पहिचानलाई चिनाउन सकेको छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लोककला विभागको आयोजनामा भएको प्रशिक्षणमा प्राज्ञ मिथिलादेवी यादव र लालकाजी लामाले समाजलाई समृद्ध बनाउन र मौलिक पहिचान बचाउनसमेत लोककलाको विशिष्ट महफ्व रहेको बताए । कार्यक्रममा कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीले ‘थारु लोककला ः संरक्षणको खाँचो’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल मण्डल

जारको जारी

- नेपाल संवाददाता

कविता, गीत, कथा, पटकथापछि सर्जक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । उनलाई निर्देशक बनाउने काम निर्माता एवं कबड्डी शृंखलाका निर्देशक रामबाबु गुरुङले गरेका हुन् । सुब्बाले जारी चलचित्रबाट बक्स अफिसमा धावा बोल्दै छन् ।
लिम्बू समुदायको संस्कारमाथि बनेको जारी विशुद्ध प्रेमकथा हो । चलचित्रमा दयाहाङ राई, विजय बरालको अभिनय रहेको छ । सुब्बाको घर पाँचथरमै सुटिङ गरिएको चलचित्रको कथा उनले करिब ८ वर्षअगाडि नै लेखेका थिए । भन्छन्, “केही नयाँ गर्न सक्छु भनेर नेपाली चलचित्रमा हात हालेको हुँ ।”
अहिले नेपाली चलचित्रको व्यापार खस्कँदो भए पनि सुब्बालाई कुनै सुर्ता छैन । भन्छन्, “घमन्ड गरेको होइन, तर राम्रो चलचित्र बने सबैले हेर्छन् ।” कोरोनाको बिगबिगी छ नि ? “त्यही भएर त जेठको गर्मीमा सारेको ।” खोलाको गीत कवितासंग्रह र लाटो पहाड कथासंग्रहबाट नाम कमाएका सुब्बा निर्देशकमा कति अब्बल हुनेछन्, त्यो भने २३ जेठमै थाहा हुनेछ ।

Page 58
नेपाल मण्डल

तपाईंको ढुकु

- नेपाल संवाददाता

हिजोआज थुप्रै बैंक तथा सहकारी छन् । तैपनि इन्टरनेटबाट
पैसा ह्याक गरेका समाचार आइरहन्छन् । प्राचीन कालमा ढुकु अर्थात् ढुकुटीमै बहुमूल्य सम्पत्ति राख्ने चलन थियो । नेवारी भाषामा ढुकुको अर्थ हुन्छ, सामान सुरक्षित राख्ने स्थान ।
ढुकुटीको यही महफ्व बुझेर होला, लाजिम्पाटमा ढुकु खुलेको छ । परम्परागत ढुकुभन्दा फरक यसमा १० भन्दा बढी ब्रान्डका नेपालमै बनेका सामान पाइन्छन् । महिला उद्यमीलाई प्रवर्द्धन गर्ने उद्देश्यले ढुकु स्टोर खुलेको हो । स्टोर सञ्चालक नीति जोशी भन्छिन्, “महिलाद्वारा उत्पादित सामान पाउने यो पहिलो कन्सेप्ट स्टोर हो । मैले कला र महिला उद्यमीको सीपलाई समायोजन गरेकी छु ।”
ढुकुमा गहना, सजावटका सामान, अल्लो र हेम्पबाट बनेका झोला तथा आयुर्वेदिक कस्मेटिक सामान पनि पाइन्छन् । नीति भन्छिन्, “हाम्रा उत्पादन चिनियाँ सामानभन्दा महँगा हुन् । तर विदेशी ब्रान्डका तुलनामा सस्तो र गुणस्तरीय छ ।”

नेपाल मण्डल

शरीर रंगाउने शैली

- नेपाल संवाददाता

शरीरमा तिखो धातुले खोपेर विभिन्न बुट्टा बनाउने चलन हजारौँ वर्ष पुरानो हो । जंगली युगमा मान्छे शरीरमा ट्याटु खोपेर आ–आफ्ना जाति छुट्याउने गर्थे । नेपालमा पनि नेवारी जातिमा कतिपयले ट्याटु बनाउने गरेका छन् भने कतिपय तराईका आदिवासी अझै शरीरमा ट्याटु खोप्छन् ।
काष्ठकलाको सहर ललितपुरमा शरीर रंगाउन ललितपुर ट्याटु कन्भेसन भएको छ । नयाँ ट्याटु आर्टिस्टलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको इभेन्ट सञ्चालक पुनम सरु थापा बताउँछिन् । कार्यक्रममा पुरुष कलाकारको वर्चस्व रहे पनि २ महिला ट्याटु आर्टिस्टको प्रस्तुति रोचक थियो ।

Page 59
नोटबुक

सेनाको छवि, धर्ना र छद्म लेखकहरु

- जनक नेपाल

नेपालमा सेनापति आफैं सुधारका बाधक’ आवरण कथा प्रकाशित भएपछि थुप्रै प्रतिक्रिया आए । जंगी अड्डाले लिखित प्रतिक्रिया नै पठायो । पत्रमा समाचार तथा सम्पादकीय भ्रामक, निराधार एवं कपोलकल्पित भनियो तर कुन कुरा गलत भन्ने खुलाइएन । तथ्यगत खण्डन पनि थिएन । सेनाको प्रतिष्ठामा आँच आउने गरी सुनियोजित र प्रायोजित ढंगले लेखिएजस्ता आरोप लगाइएको थियो । सेनाभित्रका बेथिति र अनियमितताबारे प्रश्न उठाउनु नै अपराध हो भनेझैँ गरी खण्डनपत्र लेखिएको थियो ।
सेनाभित्र मौलाएका विकृति र सेनापति पूर्णचन्द्र थापामाथि लागेका आरोपबारे सोध्न उनीसँग सम्पर्क गर्न खोजिएकै थियो । उनले सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेसँग बुझ्न सन्देश पठाए । पाण्डेसँग भेटेरै कुरा गर्न चाहेका थियौँ । उनले पनि व्यस्तता देखाएकाले सम्भव भएन । कम्तीमा १० पटक फोनमा कुरा गरियो होला । जहिल्यै बुझेर भन्छु भन्ने तर केही नभन्ने पाण्डेको स्वभाव रहेछ । किस्ता–किस्तामा सेनाको औपचारिक प्रतिक्रिया लिएपछि बल्ल रिपोर्टले पूर्णता पाएको थियो ।
रिपोर्टमा उठाइएका सवाल र सैनिक नेतृत्वमाथि लागेका आरोपमाथि हामीसँग ठोस प्रमाण थिए । त्यसैले पनि सेनाले तथ्यमा खण्डन गर्न सकेन । बरु छद्म लेखकहरु खडा गर्‍यो । दुई दिनपछि केही अनलाइनमा विशेष सम्पादकीय र सिपाहीका चिठी आए, ‘सम्पादकज्यू सेनालाई बदनाम गराएर के पाउनुहुन्छ ?’
‘सिपाहीसँग सेनापति’ कार्यक्रमका लागि तीन महिनाअघि नै प्रश्न पठाउनुपर्ने कार्यविधि रहेको संगठनका सिपाहीले रातारात अनलाइनमा लेख लेख्न थाले । छैन त, छद्म लेखकको कमाल  ? अरु नै अनलाइनमा नेपालका सम्पादकलाई पत्र लेख्ने जंगी अड्डाको अक्कललाई मान्नैपर्छ ।

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको मूल गेटमा १३ फागुनमा अनौठो दृश्य देखियो । दर्जनौँ कामदार र साना निर्माण व्यवसायी हातमा प्लेकार्ड बोकेर धर्ना दिइरहेका थिए । तीमध्येका एकले बिहानै फोन गरेर धर्ना हेर्न मुख्यालय गेट डाकेका थिए ।
सैनिक मुख्यालय भवन निर्माण पूरा भई गत १० वैशाखमै राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटबाट निर्मित भवनको लागत नै ३ अर्ब ५१ करोड थियो । काम सकिएरै उद्घाटन गरिएको होला । त्यसैअनुरुप बिल भर्पाइ पास भई भुक्तानी भएको हुनुपर्ने हो । प्राधिकरणबाट सेनाले सम्पूर्ण भुक्तानी लगिसकेको देखिन्छ । तर झन्डै २० करोड रकम रोकेको निर्माण कम्पनीहरु बताइरहेका छन् । तिनले प्रधानसेनापति थापालाई ध्यानाकर्षण–पत्र बुझाए पनि कुनै सुनुवाइ नभएपछि मुख्यालयमै प्रदर्शन गर्नुपर्ने स्थिति आएछ ।
सेनाले ‘गुड फर पेमेन्ट’ भन्दै चेक काटेर पनि भुक्तानी रोकेको पाइयो । व्यवसायीका नाममा चेक छन् तर पैसा झिक्न मिल्दैन । पैसा झिक्न घुमाउरो ढंगले पूर्वठेक्काका दर हेरफेर गर्न सैनिक अधिकृतले दबाब दिइरहेको बुझियो । भुक्तानीका लागि कमिसन मागेर बार्गेनिङ गर्न थालेपछि व्यवसायी हैरान रहेछन् । वैशाखमा सकिएको कामको बिल मिलाउन महालेखा टोलीको व्यस्तता १० महिनापछि सैनिक मुख्यालयमा देखियो ।
सैनिक मुख्यालय निर्माणको ठेक्का केसी कन्स्ट्रक्सनले लिएको थियो । त्यसमा सब–कन्ट्याक्टरका रुपमा क्वेस्ट सोलुसन थपियो । अहिले तिनै कम्पनीबाट पाउनुपर्ने पैसा साना व्यवसायी र कामदारले पाएनन् । धर्ना ती व्यवसायीका कार्यालयमा पनि हुन सक्थे । तर सेनाको मूल गेटमै गर्नुले नै सेनापतिको सुधार अभियानलाई गिज्याएन र ?

सेनामा भ्रष्टाचारको जरा भित्रभित्रसम्मै पुगेको छ भन्न अब अप्ठेरो मान्नु पर्दैन । २४ भदौमा कार्यकाल एक वर्ष पुगेको अवसरमा सेनापतिले दिएको वक्तव्यमा पनि क्यान्सरको अवशेषका रुपमा रहेका समस्यालाई औषधीले नछुने भएकाले शल्यक्रिया नै गर्नुपर्ने मन्तव्य दिए । भाषणमा उनी जति सुधारक देखिन्छन्, व्यवहारमा उतार्न भने सकेनन् । बरु उनको नेतृत्वकालमा सेनाभित्र भ्रष्टाचार रोकिनुको सट्टा स्वरुप फेरिँदै मौलाइरहेको छ । सेनाभित्रको भ्रष्टाचार नियन्त्रण र छानबिन गर्न सरकारले पूर्ण रुपमा सघाउने भनी रक्षामन्त्री ईश्वर पोखरेलले पृतनापति बैठकमै भनेर थप पुष्टि गरिदिए ।
आफैँले भ्रष्टाचारलाई सेनाभित्रको क्यान्सर ‘डाइग्नोसिस’ गरेका थापालाई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएपछि भने संगठनको छविको माया लाग्न थालेको छ । पछिल्लो पृतनापति समन्वय बैठक (४–६ फागुन) मा जर्नेलहरुले सेनाभित्र भ्रष्टाचार भएको भन्दै बाहिर भएका चर्चाले संगठनको छवि कमजोर बनाएको रिपोर्टिङ गरे । आफैँले ‘डाइग्नोसिस’ गरिसकेको रोगको अरुले चर्चा गर्दा बदनामीको के चिन्ता भो र चिफसाब ?