You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
समसामयिक

कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए

- साप्ताहिक संवाददाता

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबारसम्म २ लाख ९३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । २ सय १२ देशमा फैलिएको यो महामारीबाट विश्वभर ४३ लाख ५४ हजारभन्दा बढी मानिस संक्रमित छन् । कुल संक्रमितमध्ये ६.७ को मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । वर्ल्डओमिटरका अनुसार १६ लाखभन्दा बढी संक्रमित उपचारपश्चात् निको भएका छन् । जुन कुल संक्रमितको ३६.७ प्रतिशत हो ।

शक्तिमान देश नै बढी प्रभावित
२०१९, डिसेम्बरको अन्तिममा चीनको वुहान सहरबाट फैलिएको कोभिड–१९ का कारण अमेरिकामा हालसम्म ८३ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने १४ लाखभन्दा बढी मानिस संक्रमित छन् । संक्रमितमध्ये करिब ३ लाख मानिस उपचारपश्चात् निको भएका छन् । ३३ करोडभन्दा बढी जनसंख्या रहेको अमेरिकामा करिब १ करोड मानिसमा कोरोना परीक्षण गरिएको वर्ल्डओमिटरले जनाएको छ ।
अन्य देशको तुलनामा यहाँ उपचारपश्चात् निको हुनेको संख्या कम छ । स्पेनमा २ लाख ६९ हजारभन्दा बढी संक्रमित भएकोमा १ लाख ८० हजारभन्दा बढी मानिस उपचारपश्चात् निको भएका छन् भने करिब २७ हजार मानिसको मृत्यु भएको छ । स्पेनपछि बेलायतमा कोरोनाको प्रकोप बढी देखिएको छ । जहाँ हालसम्म २ लाख २६ हजारभन्दा बढी मानिस संक्रमित छन् भने करिब ३३ हजार मानिसले ज्यान गुमाएका छन् । बेलायतमा हालसम्म उपचारपश्चात् निको हुनेको संख्या सार्वजनिक भएको छैन ।
त्यस्तै रसियामा २ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित छन् भने २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । जहाँ हालसम्म ४३ हजारभन्दा बढी मानिस उपचारपश्चात् निको भएका छन् । इटालीमा २ लाख २१ हजारभन्दा बढी संक्रमित छन् भने करिब ३१ हजार मानिसले ज्यान गुमाएका छन् । जहाँ हालसम्म १ लाखभन्दा बढी मानिस निको भएका छन् । फ्रान्समा १ लाख ७८ हजारभन्दा बढी संक्रमित छन् भने २७ हजारले ज्यान गुमाएका छन् । ब्राजिलमा १ लाख ७८ हजारभन्दा बढी संक्रमितमध्ये १२ हजारभन्दा बढीको मृत्यु भएको छ । यस्तै जर्मनीमा १ लाख ७३ हजारभन्दा बढी संक्रमित छन् भने ७ हजार ७ सयभन्दा बढीको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।

कहाँ कति संक्रमित, कतिको मृत्यु ?
जर्मनीपछि सबैभन्दा बढी संक्रमण टर्कीमा देखिएको छ । जहाँ १ लाख ४१ हजारभन्दा बढी संक्रमित छन् भने करिब ४ हजार मानिसले ज्यान गुमाएका छन् । यस्तै, इरानमा १ लाख १० हजारभन्दा बढी संक्रमित छन् भने ६ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।
कोभिड–१९ को उद्गमस्थल चीनमा भने पछिल्लो समय संक्रमितको संख्या खासै बढेको छैन । जहाँ हालसम्म ८२ हजार ९ सय २६ जना मानिस संक्रमित भएका छन् भने ४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । जहाँ अहिलेसम्म ७८ हजारभन्दा बढी निको भएका छन् । अहिले चीनमा १ सय ४ जना संक्रमितको उपचार भइरहेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । जहाँ बुधबारसम्म ७४ हजार ४ सयभन्दा बढी संक्रमित छन् भने २ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ । २४ हजार ४ सयभन्दा बढी मानिस उपचारपश्चात् निको भएका छन् । पेरुमा संक्रमितको संख्या ७२ हजारभन्दा बढी छ भने २ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै, क्यानाडामा ७१ हजार, बेल्जियममा ५३ हजार, नेदरल्याण्डमा ४३ हजार र साउदीमा ४२ हजार संक्रमित भएको तथ्यांक छ । ती देशहरूमा क्रमशः ५ हजार, ८ हजार, ५ हजार र २ हजार बढीको मृत्यु भएको जनाइएको छ । ३८ हजार बढी संक्रमित भएको मेक्सिकोमा ३ हजार बढीले ज्यान गुमाएका छन् । पाकिस्तानमा ३४ हजारभन्दा संक्रमितमध्ये ७ सयभन्दा बढीको मृत्यु भएको छ ।
यस्तै, चिलीमा ३१ हजारभन्दा बढी संक्रमितमध्ये ३ सयभन्दा बढीको मृत्यु भएको छ भने इक्वेडरमा ३० हजारभन्दा बढी संक्रमितमा २ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । ३० हजारभन्दा बढी संक्रमित स्विट्जरल्याण्डमा १ हजार ८ सयभन्दा बढीको मृत्यु, पोर्चुगलमा करिब २७ हजार संक्रमितमध्ये १ हजारभन्दा बढीको मृत्यु र स्विडेनमा ३० हजारभन्दा बढी संक्रमितमध्ये १ हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
यस्तै, कतारमा २५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ । २४ हजारभन्दा बढी संक्रमित बेलारसमा १ सयभन्दा बढी, २४ हजारभन्दा बढी संक्रमित सिंगापुरमा २१ र २३ हजारभन्दा बढी संक्रमित आयरल्याण्डमा १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको तथ्यांक छ । दुबईमा १९ हजारभन्दा बढी संक्रमितमध्ये २ सयभन्दा बढी, पोल्याण्डमा करिब १६ हजार संक्रमितमध्ये ८ सयभन्दा बढी र बंगलादेशमा १६ हजारभन्दा बढी संक्रमितमा २ सय ५० को मृत्यु भएको छ ।
१६–१६ हजार संक्रमित इजरायल र युक्रेनमा क्रमशः २ सय ६० र ४ सय २५ को ज्यान गएको छ । जापानमा १५ हजारभन्दा बढी संक्रमित छन् भने ६ सय ५८ को मृत्यु भइसकेको छ । यस्तै, अस्ट्रियामा करिब १६ हजार संक्रमित छन् भने ६ सय २३, रोमानियामा १५ हजारभन्दा बढी संक्रमितमध्ये १ हजार २ र इन्डोनेसिया १४ हजारभन्दा बढी संक्रमितमा १ हजार ७ को मृत्यु भएको छ ।
१२ हजारभन्दा बढी संक्रमित कोलम्बियामा ४ सय ९३, ११ हजारभन्दा बढी संक्रमित फिलिपिन्समा ७ सय ५१ र ११ हजारभन्दा बढी संक्रमित दक्षिण अफ्रिकामा २ सय ६ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा १० हजारभन्दा बढी संक्रमित, २ सय ५९ को मृत्यु, डोमिनिकन रिपब्लिकमा १० हजारभन्दा बढी संक्रमित र ४ सय २ को ज्यान गएको छ । डेनमार्कमा १० हजार ५ सयभन्दा बढी संक्रमितमध्ये ५ सय २७, कुवेतमा १० हजारभन्दा बढी संक्रमितमा ७५, सर्बियामा १० हजारभन्दा बढी संक्रमितमा २ सय २०, इजिप्टमा १० हजारभन्दा बढी संक्रमितमा ५ सय ४४ को मृत्यु र पानामामा ८ हजारभन्दा बढी संक्रमितमा २ सय ५२ को मृत्युको भएको जनाइएको छ ।
त्यस्तै, चेचिया, नर्वे, मलेसिया, अर्जेन्टिना र मोरक्कोमा पनि हजारौंको सङ्ख्यामा संक्रमित छन् भने सयौंको मृत्यु भएको छ । ६–६ हजार संक्रमित अल्जेरिया र फिनल्याण्डमा क्रमशः ५ सय र २ सय ७५ को ज्यान गएको छ । बहराइन र काजाकिस्तानमा ५–५ हजार संक्रमित छन् । ५ हजारभन्दा बढी संक्रमित घानामा २२ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । यस्तै अफगानिस्तानमा संक्रमित ४ हजार, मृत्यु १ सय २७, नाइजेरियामा संक्रमित ४ हजार र १ सय ५८ जनाको मृत्यु भएको छ । लक्जम्बर्गमा ३ हजारभन्दा बढी संक्रमितमध्ये १ सय २, ओमनमा ३ हजारभन्दा बढी संक्रमितमा १७, अर्मानियामा ३ हजारभन्दा बढी संक्रमितमा ४७, हंगेरीमा ३ हजारभन्दा बढी संक्रमितमा ४ सय ३० र थाइल्याण्डमा ३ हजारभन्दा बढी संक्रमितमा ५६ जनाको मृत्यु भएको छ । करिब ३ हजार संक्रमित बोलिभिया र इराकमा करिब २–२ सय जनाको ज्यान गएको छ ।
त्यस्तै ग्रिस, अजरबैजान, क्यामेरोन, उजबेकिस्तान, गुइना, क्रोयसिया, बुल्गेरिया, सेनेगल क्युवा, आइसल्याण्डमा पनि कोरानाका कारण हजारौं प्रभावित भएका छन् । इस्टोनिया, सुडान, न्युजिल्याण्ड र लिथनियाको स्थिति पनि उस्तै छ । करिब एक हजारौंको हाराहारीमा संक्रमित हुने र एक सयभन्दा कम मानिसको ज्यान जाने देशहरूमा स्लोभाकिया, ग्वाटेमाला, सोमालिया, कीर्गिस्तान, साइप्रस, अल्बानिया, पाराग्वेहाइटी, बुरुण्डीलगायत छन् ।

नेपाललगायत ३७ देशमा छैन मृत्यु
३७ देशमा भने हालसम्म कोरोनाका कारण मृत्यु भएको छैन । जसमा नेपालसँगै भियतनाम, रुवान्डा, दक्षिण सुडान, मदागास्कार, गिब्राल्टार, सेन्ट्रल अफ्रिका रिपब्लिक, कम्बोडिया, मोजाम्बिक्यु, युगान्डा, फ्रेन्च पोलिनेसिया, मकाउ, इरिट्रेया र टिमोर लेस्ते पर्छन् । मंगोलिया, लाओस, फिजी, न्यु–क्यालेडोनिया, डोमिनिका, नामिबिया, ग्रिनाडा, सेन्ट लुसिया, ग्रिनल्याण्ड, सेन्ट भिनसेन्ट, सेन्ट किट्स एण्ड नेभिस रभ्याटिकन सिटीमा कोरोनाका कारण कसैको मृत्यु भएको छैन । पपुवा न्युगिनिय, भुटान, सेसेल्स, सेन्ट बार्थ, वेष्ट्रन सहारा, क्यारिबियन नेदरल्याण्ड, एन्गुइल्ला, फेरो इजल्याण्डलगायत देशमा कोरोना संक्रमण देखिए पनि मृत्यु नभएको वर्ल्डओमिटरले जनाएको छ । यद्यपि, ती देशहरूमा दिनानुदिन संक्रमितको संख्या बढ्दो छ । नेपालमा हालसम्म २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जना उपचारपश्चात् निको भएका छन् ।

Page 3
प्रजातन्त्रपछि नेपाली सिनेमा

तीन दशक लामो बहाव

०४६ पछि नेपाली फिल्मको संख्या त बढ्यो तर मुख्यधार बलिउडकै प्रभावमा रमाइरह्यो
- साप्ताहिक संवाददाता
यज्ञश

तीन दशक टिकेको व्यवस्था परिवर्तन भएपछि देशमा केके परिवर्तन आउँछ ? राजनीतिक र आर्थिक नीतिहरूमा देशले फरक बाटो समाउँदा अन्य कुन–कुन कुराको दिशा परिवर्तन हुन्छ ? यसबारे निकै धेरै बहस भएका छन् ।
निकै छोटो समयमा फटाफट व्यवस्था र शासन शैली परिवर्तन गर्ने केही थोरै देशमा नेपाल पर्छ । नेपालको राजनीति जुन गतिमा परिवर्तन हुने गरेको छ, सिनेमा, साहित्य र संगीतमा भने त्यो गति देखिँदैन । ३० वर्षे पञ्चायतकाल, प्रत्यक्ष निर्वाचित दलहरूले शासन गर्ने बहुदलीय संसदीय व्यवस्था, १० वर्षे जनयुद्ध, राजा र सेनाको शासन, त्यसपछि गणतन्त्र । जम्मा ६० वर्षको अवधिमा नेपालले राजनीतिमा यति प्रयोग गर्‍यो ।
प्रश्न उठ्छ– समाजलाई राजनीतिका जथाभावी प्रयोगहरूले मात्र प्रगतिशील र समृद्ध बनाउन सक्छन् ? मानिसको चेतना र सोचलाई राजनीतिले मात्रै डोर्‍याउँछ ? वा सांस्कृतिक र बौद्धिक तहबाट पनि समाजको धारमा हस्तक्षेप हुनु आवश्यक हुन्छ ? धारामा पाइप जोड्दैमा पानी आउँछ कि त्यसलाई कुनै मुहान पनि आवश्यक हुन्छ ? सँगै अर्को प्रश्न पनि आउँछ– राजनीतिमा यति धेरै परिवर्तन आवश्यक पर्ने समाजलाई सांस्कृतिक चिन्तन र सिद्धान्तमा चाहिँ खासै परिवर्तन नहुँदा पनि हुन्छ ?
नेपाली सिनेमाको विकास र यसका प्रवृत्तिका कुरा गर्दा यही परिप्रेक्ष्यमा हेर्नुपर्ने हुन्छ । जसरी कुनै खोलाबारे एक अन्जुली पानी हेरेर भन्न सकिँदैन, त्यसरी नै फिल्मको विकास र बहावबारे पनि एक–दुइटा फिल्म हेरेर भन्न सकिँदैन । यसका लागि आवश्यक पर्छ, समग्र अध्ययन र गहिरो अनुसन्धान । जो एउटा लेखमा संभव छैन । तैपनि, मोटामोटी कुरा यहाँ गरिनेछ । जसरी खोलाको पानी सङ्लो छ कि धमिलो पत्ता लगाउन एक नजर लगाइन्छ, यो त्यस्तै नजर हो ।


२०४६ को चैतको अन्त्यमा पञ्चायती व्यवस्था पतन भएर बहुदलको घोषणा भएसँगै अन्तरिम सरकारको नेतृत्वमा नेपालको नयाँ संविधान बनेर २०४७ को कात्तिकबाट जारी भयो । यसले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सांस्कृतिक अधिकारको व्यवस्था गर्‍यो । स्वतन्त्र व्यवसाय वा कलात्मक गतिविधिका लागि प्रिसेन्सरजस्ता छेकवारबाट मुक्ति दिलायो । २०४८ मा चुनाव भएर बनेको जननिर्वाचित सरकारले निजी क्षेत्रलाई सबैखाले व्यापार व्यवसायमा प्रश्रय दिने नीति लियो । शिक्षा र स्वास्थ्यजस्ता समाजवादी देशमा राज्यले जिम्मा लिनुपर्ने चिजलाई समेत व्यापारका लागि खुला छोडेपछि यो नीतिले सिनेमा र संगीतजस्ता क्षेत्रमा पनि ‘व्यावसायिकता’ ल्याउन योगदान दियो ।
सरकारी लगानीमा व्यवस्थाको प्रचार गर्नका लागि निर्माण सुरु गरिएको नेपाली फिल्मलाई व्यवसाय गर्ने बन्न धेरै समय लाग्यो । २०२२ सालमा पञ्चायती व्यवस्थालाई नै नेपालको पर्यायका रूपमा चित्रण गरी बनाइएको फिल्म ‘आमा’बाट राजनीतिक उद्देश्यहरूबाट मुक्त भई ‘मनोरञ्जनात्मक’ फिल्म उत्पादनशालाका रूपमा विकास हुन झन्डै तीन दशक लाग्यो । बीचमा फाट्टफुट्ट ‘माइतीघर’ जस्ता फिल्म नबनेका होइनन् ।


व्यवस्थाको बचाउमा बनाइएका फिल्मबाट व्यावसायिक भनिने फिल्मसम्मको यात्रा नेपाली फिल्मको एउटा कालखण्ड हो । र, व्यावसायिक भनिने फिल्महरूले कसरी बलिउडी फर्मुलाहरूलाई गुरु मन्त्र माने अनि देश र समाजका मुद्दाहरूबाट धेरै टाढाका उडन्ते कथाहरूमा पुर्‍याएर दर्शकलाई भुलाउने राजनीति थाले भन्ने अर्को खण्ड । र, त्यही बीचमा कहिलेकाहींँ ‘सीमारेखा’जस्ता इतिहास खोतल्ने, ‘प्रेमपिण्ड’ र ‘बासुदेव’जस्ता साहित्य सिर्जनामाथि बनेका र ‘नुमाफुङ’, ‘मुकुन्डो’जस्ता यर्थाथपरक फिल्म बने भन्ने अर्को खण्ड । मोटामोटी नेपाली फिल्मका मूल प्रवृत्ति पनि यिनै हुन् । बीचमा केही फिल्महरूले कल्पना र यथार्थलाई मिसाएर निकट विगतमा भएका राजनीतिक कुराहरूलाई पर्दामा उतार्ने प्रयास गरे ।
माओवादी ‘जनयुद्ध’ र त्यसले जन्माएका कथामाथि बनेका ‘आवाज’ र ‘शहीद’ जस्ता फिल्म यो कित्तामा पर्छन् । र, पर्छन्– ‘टलकजंग भर्सेज टुल्के’, ‘सेतो सूर्य’ र ‘कालोपोथी’ । यी फिल्मले नेपाली समाजले हालसालै भोगेका केही कथाका टुक्राहरूलाई उज्यालोमा ल्याउने काम गरे । यीमध्ये कुनै फिल्म झन्डै पञ्चायती सरकारले निर्माण गरेकाजस्तै राजनीतिक विचार र वादको पक्षपोषणमा खुलेर लागेका थिए । पछिल्ला तीन फिल्मले भने त्यसमाथि समीक्षात्मक र आलोचनात्मक दृष्टि राखेका थिए ।


यहाँ कुरा छ, २०४६ यताको तीन दशकको नेपाली सिनेमाको । यसको समीक्षालाई मोटामोटा तीन–चार खण्डमा बाँड्न सकिन्छ । पहिलो, फिल्म निर्माणको संख्या र यसले समाएको व्यावसायिकता । दोस्रो, मुख्यधाराका भनिने फिल्मले समाएका विषयवस्तु र सौन्दर्यशास्त्र । तेस्रो, फिल्मको प्राविधिक र दृश्य भाषाको विकास । र, चौथो– फिल्मको राजनीतिक, वैचारिक र दार्शनिक पक्ष ।
फिल्म निर्माणको संख्यालाई हेर्दा दुइटा समयमा यो ग्राफ ह्वात्तै बढेको देखिन्छ । एउटा २०५५ देखि २०५८ सम्म र अर्को २०७४/७५ तिर । पछिल्लो समय त वर्षमै एक सयभन्दा बढी नेपाली भाषाका फिल्म निर्माण हुन थालेका थिए । नेपालमा बोलिने नेपाली बाहेकका भाषामा पनि फिल्म बन्ने क्रम बढिरहेको थियो । दुई वर्षमा सरकारले एउटा फिल्म बनाउने अवस्थाबाट वर्षको सयवटा फिल्ममा पुग्नुलाई लगानी र बजार विस्तारका हिसाबले राम्रो मान्न सकिन्छ । वर्षमा सयवटा फिल्म बनाउने उद्योग संसारमा धेरै छैनन् । तर, फिल्मको संख्याअनुसार यिनको व्यापार व्यवसाय भने सन्तोषजनक थिएन/छैन । जम्मा १० प्रतिशतजति फिल्मले मात्रै लगानी सुरक्षित गर्ने भएकाले यो लगानी प्रायः घाटाको लगानी हो । धेरैजसो लगानीकर्ताहरू दोहोर्‍याएर फिल्ममा लगानी गर्दैनन् । एउटा फिल्ममा लगानी गर्नेले त्यसबाट घाटा हुनासाथ यो व्यवसाय छोड्ने गरेको पाइएको छ । यसको अर्थ यो व्यवसाय नभइकन सोखको लगानीकै रूपमा छ ।


यो तीन दशकमा फिल्ममा लगानी गर्नेको संख्या बढ्यो, यसैले फिल्मको संख्या पनि बढ्यो । कलाकार, प्राविधिक र निर्माताको संख्या पनि बढयो । तर, धेरैजसो निर्माताहरू फिल्मलाई दीर्घकालीन व्यवसाय ठानेर, व्यापारको योजनासहित मैदानमा उत्रिएका देखिएनन् । यसैले एउटै हिउँदमा यिनको जाडो गयो !
राजेश हमालदेखि दयाहाङ राईसम्म दुई पुस्तामा धेरै कलाकारहरू रजतपटमा उदाए । यिनले धेरैलाई प्रेरित पनि गरे । पर्दामा केही स्मरणीय चरित्रहरू बाँचे पनि । कलाकारको प्रतिभालाई सिनेमामा कसरी प्रयोग गर्ने भन्ने कुरा मुख्यतः निर्देशकमा भर पर्छ । कलाकारहरूको पारिश्रमिक र प्रसिद्धीमा वृद्धि भई नै रहेको छ । ३० हजार सिनेमा हल भएको चीन वा ९ हजार भएको भारतको तुलनामा जम्माजम्मी २ सय ५० वटाजति सिनेमा हल भएको नेपालले व्यवसायको गफ दिने धेरै सुहाउने कुरा त होइन । तैपनि, डिजिटल, डायस्पोरा र बक्स अफिससमेत गर्दा हिट फिल्मले पैसा कमाउन सक्ने वातावरण भने बनेको भन्न सकिन्छ ।
के यो नै कुनै देश वा फिल्म उद्योगका लागि सन्तोषको कुरा हो त ? भएको लगानी उठाएर मात्रै व्यवसाय टिकिरहन सक्छ ? वा फिल्मको मुख्य उद्देश्य व्यापार गर्नुमात्रै हो त ? यही प्रश्नसँग जोडिन्छ, दोस्रो कुरा– सिनेमाको सान्दर्भिकता र सौन्दर्यशास्त्र ।
जसरी नेपालमा मार्क्सवाददेखि गान्धीवादसम्मका विचार विदेशबाट आए, त्यसैगरी सिनेमा पनि विदेशबाटै आयो । न यसको प्रादुर्भाव यहाँ भयो, न यसको विकासक्रममा हाम्रो कुनै ठोस योगदान रह्यो । विश्व सिनेमालाई नेपालले अहिलेसम्म न कुनै शैलीगत विशिष्टतताले आकर्षित गर्न सकेको छ न कुनै विषयद्वारा आश्चर्यचकित पार्न सकेको छ । बरु, नेपालको भौगोलिक विकटता र जीवनको दुरुहताद्वारा आकर्षित भएर केही विदेशी फिल्ममेकरले बनाएका फिल्मले संसारमा चिनाउने काम गरेका छन् । चाहे त्यो ‘क्याराभान’ होस् वा ‘एभरेस्ट’ ।
प्रश्न यही हो– के हो त हाम्रो सौन्दर्यशास्त्र ? कुन शास्त्र वा सिद्धान्तमा टेकेर हामीले हाम्रा कथा र विषयवस्तुलाई हेरेका छौं ? कुन चस्मा लगाएर हामी हाम्रो समाज र पात्रहरूलाई नियालिरहेका छौं । अथवा, यी सिद्धान्त र शास्त्रहरू एउटै नभएर धेरै पो छन् कि ? समग्रमा हामीले सिनेमाबाट समाजको कुन चरित्र र रूपलाई उजागर गर्न खोजेका छौं ? त्यो यथार्थसँग मिल्दोजुल्दो नै छ कि धेरै परको छ ?
यसमा एउटै सिद्धान्त वा सुत्र छैन । नवीन सुब्बाले ‘दलन’ बनाउन प्रयोग गरेको सिद्धान्त र तुलसी घिमिरेले ‘दर्पण छायाँ’ बनाउन समाएको वैचारिक जग एउटै होइन होला । किशोर रानामगरले ‘सीमारेखा’ मा देखाएको प्रेमकथा र झरना थापाले ‘ए मेरो हजुर’मा वर्णन गरेको प्रेमको सौन्दर्य एउटै होइन होला ।


नेपाली फिल्मको व्यावसायिक भनिने मुख्यधाराले समाएको सौन्दर्य चिन्तनमा बलिउडको ठूलो प्रभाव छ । बलिउडलाई आफैंमा मौलिक सोच मानिदैन । भारतमा सिनेमामा अलग चिन्तन गर्नेहरू नै बलिउडसँग बारम्बार असहमति प्रकट गर्छन् । यस परिप्रेक्ष्यमा हेर्दा भुवन केसी, राजेश हमाल र शिव श्रेष्ठदेखि निखिल उप्रेती हुँदै अनमोल केसीको काँधमा आएको ‘उद्योग’को भारमा वजनको ठूलो हिस्सा बलिउडले निर्माण गरेका सौन्दर्यचेतना, मूल्य प्रणाली र दृष्टिकोणले ओगटेको छ भन्न सकिन्छ ।
‘एक नम्बरको पाखे’ र ‘साथी’ हुन् वा ‘मोहिनी’ र ‘करोडपति’ नेपाली फिल्मको मूलबाटोले समाजको संरचना, विचार र राजनीतिलाई खासै छोएनन् । यी कथा व्यक्तिका त रहे तर यिनले वर्ग वा समाजलाई छोएनन् । न त यी कथाको अभिव्यक्तिमा सर्जकको वैयक्तिक छाप देखियो । यिनले व्यक्तिका इच्छा, आकांक्षा र भावनाका कुरा गरे, समग्रमा एउटा समय वा समाजको भावनाको कुरा गरेनन् । यसैले यिनको महत्व ‘हिट’ हुनुमा सीमित रह्यो । यिनले न दृश्य भाषामा नयाँ प्रयोग गरे, न विषयलाई मिहिन ढंगले केलाउने कोसिस गरे । समग्रमा यिनले ‘मनोरञ्जन’ प्रदान गरे । यस्ता फिल्मको एउटै महत्व के रह्यो भने यिनले सधैं हिन्दी फिल्म हाउसफुल हुने हलमा नेपाली भाषाका फिल्म ल्याए ।
मुख्यधार यिनै फिल्मले बनाए पनि छेउमा अर्को सानो भंगालो पनि बगिरह्यो । कहिले उगेनको ‘साइनो’ त कहिले नीर शाहको ‘वासुदेव’ले त्यो भंगालोको छिपछिपे जोगाइराखे । कम्युनिस्ट आन्दोलनको मुख्यधारा माले–एमाले भइरहँदा मोहन वैद्यहरूको अर्को धार जसरी माओवादीमा रूपान्तरित भएर मुख्यधाराको दाबी गर्न थाल्यो, सिनेमामा पनि ६० को दशकपछि त्यस्तो देखिनथाल्यो । खासगरी नवीन सुब्बा, छिरिङ रितार शेर्पा हुँदै मनोज पण्डित र रामबाबु गुरुङहरूसम्म आइपुग्दा ।
प्रेमको खोजीमा भौंतारिएकी छोरी र लिम्बु संस्कृतिको पालना गर्न घरखेत गुमाएको बाबुको कथा भन्ने ‘नुमाफुङ’लाई धेरैले लिम्बु संस्कृति मिसाएकाले मौलिक फिल्म भन्ने गरेका छन् । यो फिल्म यसकारण मात्रै मौलिक भएको होइन । यसका पात्रदेखि यिनले भोग्ने जीवनमै त्यो मौलिकता देखिन्छ । कथा भन्ने शैलीमा पनि नवीनले प्रयोग गरेका छन् । चाहे त्यो सपनामा आफ्नो लोग्नेले लखेट्ने दृश्य होस् वा उकालो लाग्नेको नागबेली लस्कर होस्, नेपाली पर्दामा नदेखिएका केही दृश्यहरूको संयोजन उनले गरेका छन् ।
राजधानीमै भएको एउटा घटनामाथि छिरिङरितार शेर्पाले बनाएको ‘मुकुन्डो’ले मानवीय भावना, प्रेम, इर्ष्या र द्वेषलाई यति जीवन्त तरिकाले फिल्ममा ल्यायो कि झाँक्रीको त्यो चरित्र दर्शकको मानसपटलमा टाँसिन पुग्यो ।
समयको बहावसँगै जब देश सशस्त्र युद्धमा होमियो, यसका बाछिटा फिल्मसम्म पनि आइपुगे । एकातिर द्वन्द्वले फिल्म निर्माण र प्रदर्शनलाई प्रभावित पार्‍यो भने अर्कारित थोरै नै सही, यो विषयलाई फिल्मले छोयो पनि । मनोज पण्डितको ‘बधशाला’मा आँखामा पट्टी बाँधेर राखिएको शिक्षकसँग खैनीको सम्बन्ध भएको सिपाही दयाहाङ राई दीपक रौनियारको ‘सेतो सूर्य’मा आइपुग्दा माओवादी लडाकुका रूपमा देखिए । यी दुवै फिल्मले आफ्नो समयको, समाजले भोगेको कथा भन्न खोजे । यस्ता फिल्मले बेला–बेला फिल्मलाई समाजसँग जोड्ने काम गरे । फिल्मको सौन्दर्य शास्त्रमा बलिउड वा बाहिरबाट आएका तत्वको ठाउँमा नेपाली समाजका दृष्टिकोण र चिन्तनलाई मिसाउने काम गरे । मीन भामको ‘कालो पोथी’ले राजनीतिक आन्दोलनले बिथोलेको कर्णालीको कथा ल्यायो । पूजा गुरुङ/विभूषण बस्नेतको ‘दद्या’जस्ता कैयौं छोटा फिल्महरू आए, जसले देश विदेशमा नेपाली कथामाथि चर्चा चलाए ।
कुनै कुरा, घटना वा विचारलाई कुन दृष्टिकोणबाट हेर्ने भन्नेले चेतना र सौन्दर्य दृष्टिको निर्माण गर्छ । यसबाट नै सम्बन्धहरूको परिभाषा बन्छन्, चरित्रहरूको चित्रण हुन्छ । उदाहरणका लागि प्रेमको परिभाषामा आएको व्यापकतालाई लिन सकिन्छ । अहिले जसरी समाजमा समलैंगिक सम्बन्धले वैधता पाएको छ, यो प्रेमको परिभाषामा आएको व्यापकताको उपज हो । तर, यही समयमा, यही समाजमा यस्ता क्षेत्र पनि जहाँ छन्, जहाँ अझै पनि प्रेम सम्बन्धलाई अनैतिक मानिन्छ ! यो अन्तर किन छ त ?
सामाजिक परिप्रेक्ष्य, राजनीतिक उद्देश्य र त्यसले दिएको दृष्टिकोणको समग्रमा कुनै कलालाई हेर्दामात्र त्यसको सम्पूर्ण अर्थ खुल्छ । अन्यथा व्यख्याहरू आधा–अधुरा मात्रै रहन्छन् । समग्रतामा नहेर्दा राजनीतिमाथि बनेका सबै कलामा पक्षधरता मात्रै देखिन्छ, तिनले गर्ने टिप्पणी वा दिने नयाँ दृष्टि देख्न सकिँदैन । फिल्मको वैचारिक, राजनीतिक र दार्शनिक पक्षको कुरा यहीँ आउँछ ।
भनिन्छ, अराजनीतिक हुनु पनि एउटा राजनीति नै हो । अर्थात्, कुनै कुरालाई शास्त्रसम्मत र परिस्थितिसम्मत तरिकाले नहेर्नु पनि आफैंमा एउटा शास्त्र हो । यसले कुनै पनि विचारलाई हावामा मात्र उडाइरहन्छ, भुइँमा टेक्न दिँदैन ।
नेपाली फिल्मको मुख्य धारले लामो समयसम्म अराजनीतिक देखिने राजनीति गरिरह्यो । यसको अर्थ राजनीति, तत्कालीन समय र परिस्थितिसँग बेखबर रहेर फिल्मले यस्तो संसारको सिर्जना गर्‍यो, जहाँ वास्तविक समाजका बहस र विचारहरूलाई निषेध गरिएको थियो । सबैले समाजकै कुरा लिएर नाराबाजी गर्नुपर्छ भन्ने कुरा होइन । यसलाई बर्जितैजस्तो गर्नुमा चाहिँ विचार नै जोडिएको देखिन्छ ।
एक समय पञ्चायती सरकारले आफ्नो प्रचार गर्न र व्यवस्थाप्रति मानिसमा आस्था पैदा गराउनका लागि सिनेमालाई प्रयोग गर्‍यो । सरकारी लगानीमा बनेका सुरुका फिल्मको मुख्य उद्देश्य त्यही थियो । ‘आमा’, ‘हिजो आज भोलि’ र ‘परिवर्तन’मा यो कुरा खुलेर गरिएको थियो, त्यसपछिका फिल्ममा थोरै लुकाएर/घुमाएर भनिएको थियो ।
जब सरकारको प्रचार संयन्त्रका रूपबाट फिल्मले मुक्ति पायो, यसले ती विषयलाई नै नजरअन्दाज गर्न थाल्यो । भारी बिसाएको भरियाले भारी नै छोडेर हिँडेजस्तो !
व्यापारिक प्रयोजनका लागि बनाइएका फिल्ममा राजनीतिक विचार र बहसलाई मिसाउनु हुँदैन भन्ने एउटा अलिखित सिद्धान्त बन्यो । बलिउडी फिल्मका गीत र फाइटको फर्मुला पछ्याउन थालेपछि समाजको यर्थाथतिर फर्किन फिल्मले आवश्यकै ठानेन । बीच–बीचमा ‘बलिदान’ वा ‘सीमारेखा’जस्ता फिल्मले यी विषय पनि छन् है भन्नचाहिँ छोडेनन् । ‘साँघुरो’, ‘लुट’, ‘पशुपति प्रसाद’ र ‘बुलबुल’जस्ता फिल्म पनि बनिरहे, जसले प्रत्यक्ष राजनीतिको कुरा त गरेनन्, तर समाजसँग संवादको प्रयास गरिरहे । यही समाजमा रहेका केही पात्र र प्रवृत्तिलाई उजागर गर्ने काम यिनले गरे । जग्गा दलालीको बिगिबिगी दर्शाउने ‘जात्रा’को प्रसंग होस् वा सुकुम्बासी बस्तीका एक जोडीको यौन कुण्ठाको कुरा उठाउने ‘साँघुरो’, यिनले फिल्म कलाको सान्दर्भिकता सावित गरिरहे ।
बलिउडसँग धेरै नै आश्रित हुनुको बेफाइदा सबभन्दा बढी जे कुरामा भयो त्यो थियो, दृश्य भाषा र प्राविधिक दक्षताको विकास । सुत्रको फन्दामा फिल्म यसरी पर्‍यो कि नयाँ प्रयोगले ठाउँ नै पाएन । एउटा निर्देशकले किन फिल्म बनाउने, कुनै कथा किन भन्ने, त्यसमा उसले भन्नुपर्ने कुरा के हो र त्यसलाई कसरी कुन शैलीमा भन्ने जस्तो कुराहरू गौण हुन पुगे । आफ्नै दृश्य भाषा र शैलीको आवश्यकता यस्ता प्रश्नले बोध गराउथे । जब यी कुरा नै गौण भएपछि आफ्नो शैली नै किन चाहियो ?
संसारका धेरै साना देशले सिनेमामा नयाँ प्रयोगहरू गरेका छन् । कसैले क्यामेराको प्रयोगमा, कसैले ध्वनीको प्रयोगमा त कसैले सम्पादनमा । रंग र प्रकाशको प्रयोगमा कतिले आफ्ना मौलिक जातीय संस्कृति र मिथकको प्रयोग गरेका छन् । कतिले तिनको फरक तरिकाले मिश्रण गरी नयाँ अर्थहरूको खोज गरेका छन् ।
हालै आएको ताइवानका फिल्ममेकर साइमिन लियाङको फिल्म ‘रिजी’ र कम्बोडियाका फिल्ममेकर रिती पानको डकुमेन्ट्री ‘इराडियट्स’यसका उदाहरण हुन् । इतिहासमा मानिसले देखाएका क्रुरताका तीनवटा घटनाका पुराना फुटेजलाई लिएर बनाइएको ‘इराडियट्स’ले आफ्ना कुरा भन्नलाई भएका सामग्रीलाई कसरी प्रयोग गर्ने भन्ने सिकाइदिन्छ ।
साइमिन लियाङले ‘रिजी’मा झन्डै ५ देखि ७ मिनेट लामा ‘स्टिल सट’हरू प्रयोग गरेका छन्, जसमा न त क्यामेरा चल्छ, न दृश्यमा देखिने चिज । यी लामा दृश्यहरूमा न कुनै संवाद छन्, न कुनै पार्श्व संगीत । सामान्यतयाः हामीले व्यवसायिक भन्ने फिल्महरूमा यस्ता प्रयोग संभव देखिँदैन । तर, सबै अरूले गरेकै काम मात्रे गरेर व्यापार चम्केला, कला त त्यस्तै हो !
दृश्य भाषा र शैलीको कुरा सर्जकको आफ्नो वैयक्तिकताको कुरा हो । फिल्ममेकर कतिसम्म मौलिक वा व्यक्तिगत हुनसक्छ भन्ने कुराले उसको सिर्जनशीलता दर्शाउँछ भनेर धेरै कलाकार र समीक्षकहरूले भनेका छन् । कथाको छनोटमा पनि यो कुरा लागु हुनसक्छ । भावना सार्वभौम हुन्छ, कथा र त्यसलाई भन्ने शैली मौलिक हुन्छ । यसैले कुनै कलालाई एकअर्काबाट फरक बनाउने हो । अन्यथा पृथ्वी एउटै हो, जातिका रूपमा मानिस एउटै हो । भूगोल, संस्कृति र अर्को मानिससँग उसको सम्बन्ध र संघर्षले न मानिसलाई फरक बनाइदिने हो ! त्यसैले कथा र आख्यानको निर्माण गरिदिने हो । यसबाटै निचोरिएर त कलाको निर्माण हुन्छ ।

र, कोरोना : एक अवसर
कालो बादलमा चाँदीको घेरा भनेजस्तै कोरोना महामारीले निर्माण गरेको नयाँ परिस्थितिलाई मौकाका रूपमा प्रयोग गर्नेतर्फ फिल्ममेकरहरूले सोच्ने बेला आएको छ । फिल्म कलामा प्रयोग गर्न चाहने नयाँ र युवा फिल्ममेकरले यसको उपयोग गर्न सके नेपाली फिल्मले नयाँ स्वरूप लिनसक्छ ।
आफ्नो समाज, संस्कृति, इतिहासतिर फर्केर एकनजर लगाउने मौका यो महामारीले हामीलाई दिएको छ । विगतमा भएका गल्ती कमजोरीको समीक्षा गर्ने समय दिएको छ । जीवनका अर्थहरूको नयाँ व्याख्या खोज्न फिल्ममेकरहरू तयार छन् त ?
कुनै देश वा पुस्ताको एउटै शैली वा धार हुनुपर्छ भन्ने छैन । त्यो त चुनावमा सबै जनताले एउटै पार्टीलाई भोट हाल्नुपर्छ भन्नेजस्तो हुन्छ । लकडाउनले फिल्ममेकर र दर्शकहरूलाई पनि नयाँ–नयाँ शैलीसँग साक्षात्कार गर्ने समय दियो । अध्ययन र परख गर्ने मौका दियो । आफ्नै समीक्षा गर्ने अवसर दियो । अब नयाँ काम गर्न र आफ्नै शैली स्थापित गर्नका लागि सायद कोरोनापछिको काल उपयुक्त हुनेछ ।
सिनेमा हल बन्द हुँदा, धेरै दर्शकसम्म पुग्नलाई अन्य माध्यम पनि रहेछन् भन्ने थाहा भएको छ । ती सबै प्लेटफर्मलाई प्रयोग गर्ने गरी काम गर्ने अवसर पनि आएको छ ।
‘पर्सनल इज पोलिटिकल’ भन्ने गरिन्छ । अहिलेको परिभाषामा राजनीतिक हुनलाई समूह, जाति वा देशको कुरा गर्नु पर्दैन । कलाले त पहिले नै वैयक्तिकतालाई सबभन्दा बढी मौलिक भनिसकेको छ ।
खरबारीमा डढेलो लागेपछि नयाँ खर पलाएजस्तो यो महामारीले नयाँ सोच र शैलीको विकास गर्न फिल्ममेकरहरूलाई प्रेरित गरोस् ।
Twitter : @yangesh30

Page 4
Page 5
Page 6
प्रजातन्त्रपछि नेपाली सिनेमा

चलचित्र शतप्रतिशत मौलिक हुँदैन

- साप्ताहिक संवाददाता

चलचित्र निर्देशक, लेखक तथा निर्माता यादव खरेल गीत, कविता, मुक्तक, नियात्रा लेखनमा पनि स्थापित नाम हो । बेलायतको फिल्म स्कुलबाट डिप्लोमा गरेका उनी नेपाली चलचित्र क्षेत्रका ज्ञाताका रूपमा चिनिन्छन् । राष्ट्रिय चलचित्र नीति, २०७० को मस्यौदा समितिका संयोजकसमेत बनेका खरेलसँग साप्ताहिकका कृष्ण आचार्यले गरेको कुराकानी :

 

२०४६ सालपछिको नेपाली चलचित्रको विकास र यसको प्रवृत्तिलाई तपाईंले कसरी नियाल्नुभएको छ ?
२०४६ सालअघिसम्म नेपाली चलचित्र उद्योगमा भारतीय चलचित्रकै बर्चश्व थियो । सरकारले हिन्दी चलचित्रमा मनोरञ्जन कर लगाउने नीति ल्याएपछि नेपाली चलचित्रले गति लिएको हो । चलचित्र बन्ने क्रम पनि यससँगै बढ्दै गयो । यसको संख्यात्मक र विषयगत पक्षलाई पनि ध्यान दिनुपर्छ । सुरुवातका दिनमा हिन्दी चलचित्रको शैलीकै नेपाली चलचित्र बन्ने प्रवृत्ति रहे पनि हालसम्म आइपुग्दा त्यसमा धेरै परिवर्तन हुँदै गएको छ । विषयमा पनि विविधता देखिएको छ । सरकारले गरेको नीतिगत परिवर्तन र चलचित्र क्षेत्रले प्राप्त गरेको आय–आर्जन, प्रतिस्पर्धामा वृद्धि भएको देखिन्छ । २०७० सालमा राष्ट्रिय चलचित्र नीति बनेको छ । चलचित्र विकास बोर्ड गठन भएको छ । एकद्वार प्रणालीको अवधारणा पनि बनेको छ । त्यसैले चलचित्रको विकासक्रमलाई एकै कालखण्डमा राखेर विश्लेषण गर्न मिल्दैन । नेपाली चलचित्र क्षेत्रको कुरा गर्दा निर्माण, प्रदर्शन र वितरणलाई हेर्नुपर्छ । कुनै एक पक्षले अन्य दुई पक्षलाई असर गर्छ । अर्को कुरा बजार, पहुँच र प्रविधिको विकासले चलचित्र क्षेत्रमा पनि प्रभाव पारिरहेको हुन्छ । त्यसैले यसका आयामहरू विभिन्न खाले छन् ।

हिन्दी चलचित्रले त अहिले पनि नेपाली चलचित्रलाई पेलिरहेको छ नि होइन ?
राष्ट्रिय चलचित्र नीति आउनुअघि ठेट नेपाली भाषामा मात्र चलचित्रहरू बन्ने गर्थे । अहिले तामाङ र थारु भाषामा फिल्महरू बन्ने बाटो खुलेको छ । यससँगै हाम्रो देशमा रहेका विभिन्न भाषा, धर्म र सांस्कृतिक विविधतालाई फिल्मको माध्यमबाट प्रस्फुटन गर्न खोजिएको मैले पाएको छु । तर, चलचित्र प्रयोगात्मक भएर मात्र पनि नहुँदो रहेछ । लगानी गरेर बनाइएका चलचित्रको आम्दानी गर्ने बाटो पनि हुनु पर्दोरहेछ । अहिले प्रदर्शन र वितरणमा नेपाली चलचित्रहरूले प्राथमिकता पाउन सकेका छैनन् । अझ मौलिक, संस्कृति तथा भाषागत महत्वका हिसाबले बनेका चलचित्रमा त हल र वितरकको आँखा नै लाग्दैन । अहिले पनि उनीहरूले विदेशी चलचित्रबाट बढी फाइदा हुने देखेर प्राथमिकतामा राखेका छन् । पहिला त हिन्दी चलचित्रमात्र प्राथमिकतामा पर्थे । अहिले त अंग्रेजी चलचित्रलाई पनि प्राथमिकता दिन थालिएको छ । हामी वर्ल्ड ट्रेड अर्गनाइजेसनको सदस्य छौं । यसको सदस्य भइसकेपछि अर्को मुलुकसँगको व्यापारमा विभेद गर्न पाइँदैन । तर, राष्ट्रिय चलचित्र नीतिमा चलचित्रलाई ‘कल्चलर प्रडक्ट’ भनेर परिभाषित गरिएको छ । त्यसैले हामीले हाम्रो आफ्नो सांस्कृतिक उत्पादनलाई प्राथमिकता दिँदा कसैप्रति कुनै अन्याय हुँदैन । दुःखको कुरा के छ भने जे हुनुपर्ने हो त्यही भइरहेको छैन ।

हिन्दी र अंग्रेजी चलचित्र चल्नुमा हलवाला वा वितरकको गल्ती मात्रै छ कि, दर्शकको रूचि पनि कारक छ ?
मैले हलवाला र वितरकलाई मात्र गलत देखाउन खोजेको होइन । उनीहरूमार्फत देशको अवस्था देखाउन खोजेको हो । राज्यको कमजोरी देखाउन खोजेको हो । हामी हलिउड र बलिउडसँग प्रतिस्पर्धा गर्ने अवस्थामा अझै पुगिसकेका छैनौं । बजार, लगानी र प्रविधिका हिसाबले उनीहरू निकै अगाडि छन् । यसो हुँदा हाम्रोभन्दा उनीहरूको माल राम्रो आउनु र राम्रो मालमा दर्शकले आँखा लगाउनु स्वाभाविक नै हो । यसो भनेर नेपाली चलचित्रको विकास तथा विस्तारमा राज्य आफ्नो दायित्वबाट भाग्न मिल्दैन । विदेशी चलचित्रमा कर लगाउने र नेपाली चलचित्रलाई सहुलियत दिने नीति अवलम्बन गरे के हुन्छ ? विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गरिदिनुपर्छ । प्रतिस्पर्धा र संरक्षणसँगै हुने हो भने भोलिका दिनमा नेपाली चलचित्रको भविष्य राम्रो छ । पछिल्लो समय राम्रा नेपाली चलचित्र पनि बनेका छन् । दर्शकहरूले पनि रुचाएका छन् । तर, हल र वितरकले राम्रो नेपाली चलचित्रलाई भन्दा राम्रो विदेशी चलचित्रलाई प्राथमिकतामा राख्दा समस्या आउँछ । राज्यले चलचित्र क्षेत्रलाई खुला छाड्नु भनेको जसको शक्ति उसकै भक्ति हुनु हो । हरेक क्षेत्रमा यस्तो समस्या छ । सिमेन्ट, चुरोट र रक्सीलाई पनि खुला छाडिदिने हो भने नेपाली ब्रान्ड लोप हुने खतरा हुन्छ । सरकारले ती उत्पादनको संरक्षण गरेजस्तै चलचित्रको पनि संरक्षण गर्न आवश्यक छ ।

चलचित्र क्षेत्र सुधारका लागि अहिलेको चलचित्र नीति नै पर्याप्त छ ?
समयसँगै हरेक कुराहरू सुधार र परिवर्तन गर्नु आवश्यक हुँदै जान्छ । त्यतिबेला चलचित्र नीतिले प्रविधिको कुरा गरेको थियो । अहिले युट्युबलगायतका अन्य प्लेटफर्महरू आएका छन् । तिनलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा आउन सक्छ । चलचित्र नीतिले निर्धारण गर्ने भनेको मूल सिद्धान्त हो । नीतिका मूलभूत कुराहरूचाहिँ उही नै रहन्छन् । समय र परिस्थितिअनुसारको चलचित्र निर्माण, वितरण र प्रदर्शनको पक्षलाई कसरी बलियो बनाउने भन्ने विषयमा नीतिगत सुधार आवश्यक पर्छ । अहिले पनि चलचित्र नीति समय सापेक्ष हुन आवश्यक छ ।

एकातर्फ राष्ट्रिय नीतिमा चलचित्रलाई सांस्कृतिक उत्पादन भनिएको छ । अर्कोतर्फ चलचित्रलाई मनोरञ्जन उद्योगका रूपमा परिभाषित गर्नेहरू पनि उत्तिकै छन् । यस्तो मतभिन्नता किन ?
कुनै समय चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र परिभाषित गरिन्थ्यो । यो सत्य हो । तर, राष्ट्रिय चलचित्र नीतिमा यसलाई पुनःपरिभाषित गर्दै चलचित्र भनेको सांस्कृतिक उत्पादन हो भनिएको छ । सांस्कृतिक कुराले त्यस देशको धर्म, भाषा, संस्कृति, परम्परा, मूल्य–मान्यता, चालचलनलाई जनाउँछ । चलचित्रमा पाइने भनेको यिनै चिजहरू हुन् । यसकै आधारमा कथा बन्दै, बुन्दै जाने हो । यसलाई सबैले स्वीकार्नुपर्छ र मलाई लाग्छ– स्वीकार गर्नु भएको पनि छ ।

नेपाली चलचित्र मौलिक छैनन् भन्ने आलोचना छ नि ?
मौलिकताकै कारण नेपाली चलचित्रहरू बेला–बेलामा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समावेश भइरहेका छन् । कतिपय चलचित्रलले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका उदाहरणहरू पनि छन् । चलचित्र शतप्रतिशत मौलिक हुने सम्भावना भने छैन । त्यस्तो कहीँ पनि हुँदैन । केही चलचित्र बन्दा केही मौलिक हुने हो । त्यो अहिले भइरहेको छ ।

तपाईं गीतकार पनि हुनुहुन्छ । नेपाली चलचित्रमा गीत–संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
राम्रो गीतले जीवन, जगत र प्रकृति बोल्न सक्छ । गीत नदी बगेजस्तै हो । नदीमा अनेक कुराहरू बगेर आउँछन् । फोहोर चिज, झारपातहरू किनार लाग्दै जान्छन्, पानी सङ्लिँदै निरन्तर बगिरहन्छ । जुन गीतले जीवन, प्रकृति र जगतलाई बोक्न सक्दैन ती गीतहरू पन्छिदै जान्छन् भने जुनले बोक्छन् ती कालजयी भइदिन्छन् । सङ्लो पानीजस्तै ।

पछिल्लो समय लेखन, निर्देशन र अभिनय क्षेत्रमा युवा पुस्ताको आकर्षण र सहभागितालाई कसरी लिनुभएको छ ?
यो सकारात्मक पक्ष हो । चलचित्र व्यावसायिक बनिसकेपछि युवा पुस्ता आकर्षित हुनु स्वाभाविक हो । प्रविधिमैत्री भएसँगै निर्माण पनि सहज भएको छ । पहुँच पनि सबैमा पुगेको छ । जस कारणले गर्दा लेखन, अभिनय र निर्देशनमा नयाँ–नयाँ विचार र प्रतिभाहरू आउन थालेका छन् । नयाँ प्रविधि, नयाँ पुस्ता र नयाँ प्रयोग आफैंमा सुखद् पक्ष हुन् । नयाँ सोचले प्रयोगात्मक चलचित्रको विस्तार हुँदै गएको देखिएको छ । जसले गर्दा युवाहरूले अन्तर्राष्ट्रियस्तरमा पनि अवसरहरू पाउन थालेका छन् । उनीहरूको ज्ञान र अध्ययन बढ्न थालेको छ । सारतत्व र प्रस्तुति दुवै राम्रो हुँदै गएको छ ।

चलचित्रको विकास तथा विस्तारका लागि भनेर सरकारले चलचित्र विकास बोर्ड गठन गरेको छ । तर, नेतृत्वले काम गर्न नसकेको भन्दै सधैं आलोचना भइरहन्छ । तपाईं कमजोरी कहाँनेर देख्नुहुन्छ ?
राजनीतिक भागबन्डा नै मुख्य समस्या हो । नेतृत्व चयन गर्दा कुन पार्टीको हो, कुन गुटको हो भनेर हेरिन्छ । राम्रोभन्दा पनि हाम्रोलाई चुनिन्छ । जसले गर्दा नेपालका अन्य क्षेत्रहरू जसरी राजनीतिक विकृतिको चपेटामा परेका छन्, कला क्षेत्रमा पनि त्यसैगरी राजनीतिक विकृति हाबी भएको छ । गलत किसिमले प्रभावित हुने भएका कारण एकद्वार नीतिबाट सञ्चालित विकास बोर्डले उल्लेख्य काम गर्न सकको छैन ।

लामो समयदेखि सेन्सर बोर्ड खारेजीको माग उठिरहेको छ । जथाभावी चलचित्रमा सेन्सर लाग्ने प्रवृत्तिका कारण अभिव्यक्ति स्वतन्त्रता संकुचित हुँदैन ?
कुनै पनि बहानामा संविधानले ग्यारेन्टी गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन हुनुहुँदैन । प्रजातन्त्रमा सेन्सर लाग्नु भनेको अधिनायकवाद नै हो । सेन्सरको आफ्नै कोड छ । त्यसमा आधारभूत अधिकारका कुराहरू उल्लेख छन् । ती कुराहरू प्रभावित हुनु भएन । सत्ता, सरकार वा अन्य कुनै पक्ष–निकायको गलत कामको सांकेतिक विरोध गरिँदा त्यसमाथि सेन्सर लगाउने कार्य अमान्य छ । स्वतन्त्रता दिने भन्दैमा राष्ट्रको अहित हुने कुरा, यौनका विषयलाई पनि छाडा छाड्ने भनेको होइन । तर, सेन्सर गरेर जथाभावी दृश्य काट्ने र संवाद बिगार्ने काम गर्न पाइँदैन ।

Page 7
प्रजातन्त्रपछि नेपाली सिनेमा

व्यावसायिक बन्न नसकेको वृत्तचित्र

- साप्ताहिक संवाददाता
शेखर खरेल

बन्दाबन्दीको समय धेरैले पुस्तकभन्दा पनि चलचित्र हेरेर बिताइरहेका छन् । काठमाडौंका सिनेमाघरका पर्दा चुम्न नसक्ने कलात्मक तथा यथार्थवादी चलचित्र बन्दाबन्दीमा यस पंक्तिकारको छनोटमा परे । चलचित्रकाबीच केही वृत्तचित्र हेर्ने मौका पनि जुर्‍यो । अमेरिकी वृत्तचित्र निर्माता माइकल मुरको प्रस्तुति (निर्देशन होइन) ‘प्लानेट अफ ह्युमेन’ मा मानिसले प्रकृतिमाथि धावा बोल्दै आफ्नै विनाश निम्याएको देख्दा जो कोहीलाई हजार वाटको झट्का महसुस हुनसक्छ । अमेरिकाको चरम उपभोक्तावादी रवैया, युद्धोन्माद र बन्दुके संस्कृति, स्वास्थ उपचार (हेल्थ केयर) को दुरावस्थाप्रति कटाक्ष गर्दै मुरले बनाएका वृत्तचित्रहरूले सम्पूर्ण विश्वको ध्यान खिचेका छन् । वृत्तचित्रमा मुर निर्देशक–निर्माताभन्दा बढी ‘एक्टिभिस्ट’ देखिन्छन् । त्यसैले उनका सिर्जना आफैंमा मानक हुन् । अझ रमाइलो त के भने, चलचित्र जस्तो विशुद्ध मनोरञ्जक विधाभन्दा पृथक वृत्तचित्रबाट उनी चलचित्र बराबरकै व्यावसायिक लाभ उठाउन पनि सफल छन् । सन् २००४ मा उनीद्वार निर्देशित’ फरेनहाइट ९/११’ वृत्तचित्र इतिहासकै सर्वाधिक सफल व्यावसायिक उत्पादन रह्यो, जसले अमेरिकी बक्स अफिसको खालबाट मात्रै १२ करोड डलर सोहोरेको थियो । पैसासँगै प्रसिद्धिको बम्पर स्वरूप यस वृत्तचित्र कान फिल्म फेस्टिभलमा ‘पाल्म द’ ओर’ हात पार्न सफल रह्यो । सन् २००३ मै ‘बाउलिङ फर कोलम्बाइन’ का निम्ति एकेडेमी (ओस्कर) पुरस्कार प्राप्त गरिसकेका मुरले त्यसयता वृत्तचित्रमार्फत सारा विश्वलाई आनन्दितभन्दा पनि झस्काउँदै आएका छन् । एकेडेमी, कान, बर्लिनजस्ता विश्वका प्रतिष्ठित चलचित्र महोत्सवले वृत्तचित्र समेतलाई समेट्नुले वृत्तचित्रको सामर्थ्य र सान्दर्भिकता पुष्टि गर्छ ।
राणाशाहीको पतन पछिमात्र विदेशीका निम्ति खुलेको नेपाल लामो समयसम्म बाहिरियाका लागि रहस्यको भूमि अर्थात् सांग्रिला रहिरह्यो । त्यसैले नेपालका मानवीय तथा सांस्कृतिक रहस्य र प्राकृतिक छटाले विदेशीलाई गुरुत्वाकर्षित गर्दै आइरहेका छन् । प्राचीन र माध्यमिककाल अनि नेपाल एकीकरण यता नेपाल यात्रा गर्ने विदेशीले आफ्नो यात्रा विवरण शब्दमा उतारेका छन् । तर, फोटोग्राफी र पछि सेलुलोइड क्यामेराको आविष्कार पछि भने आगन्तुकले शब्दसँगै श्रव्य र दृश्यलाई अभिलेखीकरण गरेका छन् । सन् १९५० मा भौगर्भिक सर्वेक्षणका लागि नेपाल आएका स्वीस भूगर्वशास्त्री टोनी हेगले ‘स्टिल’ (स्थिर) सँगै ‘मोसन’ (चलायमान) दृश्यलाई कुनै अभिलेख झै संग्रह गरेका थिए । उनका हिजोका ‘फुटेज’ (दृश्यांश) आज विगत नियाल्ने सबैभन्दा रोमाञ्चक र भरपर्दा दृश्य सामग्री हुँदैन, जसलाई धागोमा फूल उने जसरी वृत्तचित्रसमेत तयार गरिएको छ ।


शायद व्यवस्था (पञ्चायत) को बखान र प्रोपागाण्डाको उद्देश्यले नेपालमा वृत्तचित्र निर्माण थालिएकाले हुनुपर्छ, वृत्तचित्र अभिव्यक्ति वा सिर्जनाको विधा हो भन्ने भेउ वा स्विकारोक्ति लामो समयसम्म स्वदेशीलाई हुन सकेन । सिनेमाहलमा चलचित्र सुरु हुनुभन्दा अघि देखाइने राजदम्पतीको राजकीय भ्रमणका श्रव्य–दृश्य होस् वा राज्यले थालेको कुनै अमूक योजना र अभियानको चलायमान फेहरिस्त, वृत्तचित्रको अर्थ नेपाली मानसपटलमा न्यारेटर (वाचकी) को एकोहरो रटान सँगसँगै पर्दा नाच्ने दृश्यचित्र मात्र रह्यो । बरू सिनेमा भन्दा पनि टेलिभिजन (भारतीय दूरदर्शन र पछि नेपाल टेलिभिजन) को आगमनले नेपालीका निम्ति वृत्तचित्र पनि कलाको एक विधा हो भन्ने अनुभूति जगाइदिए । त्यस पछिका केवल टिभी र वृत्तचित्र एवं चलचित्र महोत्सवले त राम्रा वृत्तचित्र र सिनेमाको आस्वादका लागि नेपाललाई बाँकी विश्वसँगै जोडिदिए ।

महोत्वसको कोसेढुंगा
हिमाल एसोसिएनसद्वारा सन् १९९७ वाट आरम्भित ‘फिल्म साउथ एसिया’ (एफएसए) नेपालमा गैरआख्यान वृत्तचित्रको एक कोसेढुंगा रह्यो । एफएसएले नेपाली दर्शकलाई वृत्तचित्र प्रोपगाण्डा नभएर सिर्जनात्मक कला (क्रियटिभ आर्ट) को अनुभूति दिलाउनुसँगै नेपालका सम्भावित प्रतिभालाई वृत्तचित्र निर्माणको अवसर प्रदान गर्‍यो । दक्षिण एसिया वृत्तचित्र निर्माणमा कहाँ उभिएको छ र त्यस मानचित्रभित्र नेपाली निर्माताले कस्तो ‘स्पेस’ निर्माण गर्न सक्नेछन् भन्ने आत्मविश्वास नेपाली प्रतिभालाई दिलायो । संयोगवश, महोत्सव प्रारम्भकै वर्ष नेपाली वृत्तचित्र निर्माता छिरिङ रितार शेर्पाको ‘द स्पिरिट डजनट कम एनिमोर’ ले प्रथम पुरस्कार हात पार्दै एकातिर नेपाली वृत्तचित्र निर्माताको सामर्थ्य प्रामाणित गर्‍यो भने अर्कोतिर अरू सम्भाव्य निर्मातालाई पनि प्रेरित गर्‍यो । यसैगरी सन् २००० बाट प्रारम्भित काठमाण्डू इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) ले लघु तथा कथानक चलचित्र र वृत्तचित्र निर्माता दुवै थरीलाई एउटा भरपर्दो मञ्च प्रदान गर्दै आएको छ । प्रारम्मकालको वार्षिक एफएसए र द्वैवार्षिक किम्फ सन् २०१९ सम्म आइपुग्दा क्रमशः १२ औं र १७ औं संस्करणमा द्वैवार्षिक र वार्षिक चलचित्र महोत्सवमा रुपान्तरित भइसकेका छन् । फिल्मका यी दुई महोत्सवले गएका दुई दशकमा काठमाडौंलाई विशेषगरी दक्षिण एसियाको चलचित्र महोत्सवको केन्द्रका रूपमा स्थापित गरेका छन् । अझ् पछिल्लो दशकतिर त काठमाडौंमा विषयगत (थेमाटिक) महोत्सवसमेत आयोजना हुन थालेका छन् । इन्डेजिनियस (आदिवासी), ह्युमेन राइट्स (मानव अधिकार), युरोपियन, अफ्रिकी, कोरियन, जापानी आदि चलचित्र महोत्सवले काठमाडौंको सिर्जनात्मक भावभूमिलाई उर्वर र उत्सवपूर्ण बनाइदिएका छन् ।
मनोरञ्जनको मूल चरित्र बोक्ने कथानक चलचित्रविपरीत वृत्तचित्रले निश्चित उद्देश्य बोकेको हुन्छ । बहुआयामिक वृत्तचित्रको एउटा आयाम विशुद्ध मनोरञ्जक नै पनि हुनसक्छ भने अन्य आयाममा कला र संस्कृतिको दिग्दर्शन, कुनै घटना वा परिघटनाको कथ्यात्मक चित्रण, समाजिक र राजनीतिक टिप्पणी वा अरू जे केही । वृत्तचित्र निर्माणको निश्चित विधि र व्याकरण नभए तापनि ‘न्यारेटिभ’ (कथ्य) को धागोमा दृश्यहरू उनिएका हुन्छन् । कुनै विषयको विवरणभन्दा पनि त्यसको व्याख्यामार्फत वृत्तचित्र निर्माण हुन्छ भने वृत्तचित्र निर्माताको कलात्मक निपूर्णता र शिल्प कौशलले वृत्तचित्रलाई अन्ततः ‘मास्टरपिस’ बनाउँछ ।

शौखिन विधा
सिद्धहस्त र संभावनायुक्त वृत्तचित्र निर्माताका प्रचुरताका बाबजुद नेपालमा वृत्तचित्र व्यावसायिक विधाका रूपमा स्थापित हुन सकेको छैन । सेल्युलाइडबाट डिजिटल प्रविधिको छलाङले श्रव्य–दृश्य छायांकन तथा पोस्ट–प्रडक्सन सस्तो र सुलभ बनाइदिएको छ । एउटा सानो डिएसएलआर क्यामराद्वारा दृश्य छायांकन र पिसी कम्प्युटर वा ल्यापटपमा एडिटिङ सफ्टवेयर डाउनलोड गरेर घरमै वृत्तचित्र निर्माण संभव छ । कथानक चलचित्रविपरीत वृत्तचित्रका निम्ति कलाकार र प्राधिकको ठूलै डफ्फा दरकार पनि पर्दैन । तर, पनि नेपालमा वृत्तचित्र व्यावसायिक बन्न सकेको छैन । आफ्ना प्रथम (डेब्यू) वा एक–दुई सिर्जनामा नै अब्वल प्रमाणित वा संभावना बोकेका वृत्तचित्र निर्माता छोटो अवधिमै हतोत्साही भएका पाइन्छन्, जसको मुख्य कारण नै वृत्तचित्र विधा व्यावसायिक बन्न नसक्नु हो ।
कथानक चलचित्र झैं वृत्तचित्र सिनेमाघर वा टेलिभिजन च्यानलमा प्रदर्शन गरिँदैनन् । सिनेमाघरमा वृत्तचित्र बर्जित जस्तै छ । उता, टिभी च्यानलसमेत वृत्तचित्र प्रदर्शन निम्ति अनिच्छुक देखिन्छन् । कमेडी श्रृंखला, सांगीतिक र रियालिटी शो जस्ता हल्का–फुल्का र मनोरञ्जक कार्यक्रम जसरी वृत्तचित्र जस्तो गम्भीर र ज्ञानवर्धक विधाले प्रायोजक पाउँदैनन् । फेरि नेपालमा युरोपेली देश र अमेरिका झैं वृत्तचित्रका छुट्टै च्यानल पनि छैनन् । त्यसैले वृत्तचित्र खपत हुने एकमात्र मञ्च भन्नु महोत्सव नै हो, जसका प्रतियोगितात्मक विधामा उत्कृष्ट ठहरिएका वृत्तचित्रलाई निश्चित रकम पुरस्कार तोकिएको हुन्छ । महोत्सवमा छानिएका सबै वृत्तचित्र अर्थ उपार्जनमा सफल हुँदैनन् । महोत्सवभरको केही मिडिया कभरेज र तालीसँगै वृत्तचित्रको चमक उडिसकेको हुन्छ । कुनै संस्थाको आर्थिक सहयोग वा प्रायोजनमा निर्माण हुने वृत्तचित्रका निम्ति महोत्सवको मञ्च मात्रले सन्तुष्टि प्रदान गर्न सक्ला, तर स्वतन्त्र वृत्तचित्र निर्माताका लागि महोत्सव मात्र व्यावसायिक रूपान्तरण निम्ति पर्याप्त हुँदैन ।
दर्शकको खोजीमा केही वृत्तचित्र निर्माताले आफ्ना सिर्जना युट्युबमा राख्ने गरेका छन् । तर, त्यहाँ पनि गम्भीरभन्दा हल्काफुल्का उत्पादनमै ‘भ्यूअर’ को बढी ध्यान गएको पाइन्छ । युट्युबजस्ता डिजिटल च्यानलबाट ’भ्यूज’ को पहुँच बढाउन जति सजिलो छ, त्यसमार्फत ‘मोनेटाइज’ गर्न उत्तिकै मुस्किल । तर, पनि केही निर्माताले यस्तो आँट नगरेका भने होइनन् । उदाहरणका लागि युट्युबको ‘हेर्ने कथा’ श्रृंखला गम्भीर अनि ज्ञानबर्द्धक उत्पादन हो ।
वृत्तचित्र व्यावसायिक वा दिगो अर्थोजार्जनको विधा हुन नसकेका कारण नै वृत्तचित्र निर्माता दाता वा गैरसरकारी संस्थाका पारिश्रमिकयुक्त (कमिसन्ड) काम वा अन्य विधातर्फ पलायन हुने गरेका छन् । परिणामतः अपार संभावना बोकेको कलाको एक विशिष्ट विधा ओझेलमा पर्दै गएको छ ।
यदि निजी नभए पनि राष्ट्रिय टिभी च्यानल, सञ्चार र संस्कृति मन्त्रालय र अझ चलचित्र विकास बोर्डजस्ता राज्यको सांस्कृति प्रवर्द्धक निकायहरूले थोरै मात्र सहुलियत वृत्तचित्र निर्मातालाई दिने हो वृत्तचित्रमार्फत नेपालले आफूलाई विश्वमा अब्बल प्रमाणित गर्न सक्ने संभावना उत्तिकै छ । मनोरञ्जनसँगै ज्ञान बटुल्न सकिने वृत्तचित्र जस्तो विधा ओझेलमा पर्नु विडम्बना हो ।
(खरेल स्तम्भकार तथा वृत्तचित्र निर्माता हुन्)

Page 8
प्रजातन्त्रपछि नेपाली सिनेमा

कलाकार : आउँदै, हराउँदै

पछिल्लो तीन दशकमा धेरै कलाकारलाई सिनेमाले चर्चित बनायो, तर थोरै मात्रै टिकिरहेका छन्
- अनिल यादव

भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मा, करिश्मा मानन्धर, लक्ष्मी गिरी ०४६ सालअघि पनि चिनिएका कलाकार थिए । तर, उनीहरूको व्यस्तता र लोकप्रियता पनि ०५० को दशकमा बढ्यो । यो दशकले राजेश हमाललाई व्यस्त, चर्चित र सफल अभिनेता बनायो । उनको स्टारडमले धेरै निर्माता र निर्देशकलाई पनि व्यावसायिक रूपमा सफल बनायो । निर्देशक दयाराम दाहालका शब्दमा ‘एंग्री योङ म्यान’ रूपमा राजेश हमालको फिल्म क्षेत्रमा आगमन दर्शकले रुचाएपछि फिल्म निर्माणको गति पनि ह्वात्तै बढ्यो ।
यो दशकमा अभिनेत्रीहरूको आगमन पनि उल्लेख्य छ । तुलसी घिमिरेका प्रायः फिल्ममा अभिनय गरेकी निरुता सिंह एक दशकसम्म ‘लिडिङ लेडी’का रूपमा देखिइन् । ‘दर्पणछायाँ’, ‘बन्धकी’, ‘दुई किनारा’, ‘दक्षिणा’, ‘आफ्नो मान्छे’ लगायत दर्जनौं हिट फिल्म दिएकी उनी नेपाली फिल्ममा खराब प्रवृत्ति र खराब मान्छेहरू बढेको भन्दै एकाएक फिल्म क्षेत्रबाट हराइन् ।
निरुतापछि फिल्म क्षेत्रमा व्यस्त अर्की अभिनेत्री रेखा थापा हुन् । ०६० को दशकमा सिनेमाका सिंगल थिएटरमा आफ्नो स्टारडम कायम राख्न उनी सफल भइन् । ‘नेपालमा जसरी महिलाको चरित्रचित्रण सिनेमामा सधैं कमजोर भइरह्यो, त्यसैगरी महिलाको उपस्थिति पनि खासै उल्लेखनीय हुन सकेन, हिरोको वरिपरि नाच्नबाहेक । रेखाले भने महिलालाई पर्दामा सशक्त देखाउने प्रयत्न भने गरिन्’, निर्देशक मनोज पण्डित भन्छन् ।
अभिनेताहरूमा भने राजेश हमालको स्टारडमले ठूलो प्रभाव क्षेत्र ओगट्यो । तीन दशकको अभिनय यात्रामा हमालले सयौं फिल्ममा अभिनय गरे । ०५० को दशकमा उनका थुप्रै फिल्म ब्याक टु ब्याक ‘हिट’ भए । ‘कसम’, ‘देउता’, ‘बसन्ती’, ‘अल्लारे’ आदि उनका दर्शकमाझ चर्चित फिल्म हुन् । फिल्म प्रवेशका हिसाबले राजेश हमालभन्दा भुवन केसी र शिव श्रेष्ठ एक दशक सिनियर हुन् तर राजेशको प्रवेशपछि उनीहरू फिल्म बजारमा समकालीन प्रतिस्पर्धीजस्तै देखिए । उनीहरूबीच कसको फिल्म हिट हुने र को ठूलो स्टार भन्ने होड पनि देखियो ।


३९ वर्षअघि ‘चिनो’ फिल्मबाट डेब्यु गरेका केसी रोमान्टिक हिरोका रूपमा चिनिए । उनका ‘कुसुमे रुमाल’, ‘सन्तान’, ‘तिलहरी’, ‘कन्यादान’, ‘दक्षिणा’ अदि फिल्म व्यावसायिक रूपमा सफल भए । २०३९ मा ‘जीवनरेखा’मार्फत अभिनय थालेका श्रेष्ठ ‘एक्सन हिरो’का मानिन्थे । ‘कान्छी’, ‘बदलिँदो आकाश’, ‘चिनो’, ‘राँको’, ‘स्वर्ग’, ‘जन्मभूमि’, उनी अभिनित फिल्म हुन् । धेरै वर्ष भयो अहिले हमाल, केसी र श्रेष्ठ फिल्ममा खासै सक्रिय छैनन् ।
अभिनेत्रीका हकमा भने एकैजना लामो समयसम्म टिकेको इतिहास छैन, केही अपवादबाहेक । तृप्ती नाडकर, विपना थापा, जल शाह एक समय चर्चित थिए, पछि हराए । ‘हलिउडमा त ५० वर्ष पुगेपछि पनि हिरोइनहरूले क्यारेक्टरका रूपमा लिड रोलमा काम गरिरहेकै छन्’, केही समयअघि वीरगन्ज फिल्म फेस्टिभलमा भेट हुँदा निरुताले भनेकी थिइन्, ‘नेपाल र भारतमा भने हिरोइनको आयु ६–७ वर्षसम्म मात्रै हुन्छ ।’


अहिले भने निरुता आफ्नै अभिनयलाई फर्केर हेर्दा लाज मान्छिन् । भन्छिन्, ‘आफ्नो अभिनय देखेर मलाई लाज लाग्छ । मान्छेले मलाई कसरी फिल्ममा काम दिएको भन्ने लाग्छ । आजसम्म पनि म मेरो अभिनयबाट कहिल्यै सन्तुष्ट भइनँ ।’
०५० कै दशकमा सुगठित शरीर लिएर आए, धीरेन शाक्य । हमाललाई टक्कर दिने कलाकारका रूपमा उनको चर्चा हुन्थ्यो । ‘क्रोध’, ‘जीवनदान’, ‘सिमाना’, ‘चिनो’, ‘अजम्बरी माया’जस्ता केही चर्चित फिल्मपछि उनी सुस्ताए । ‘पिंजडा’ फिल्ममा सात तला माथिबाट हामफालेर चर्चा बटुलेका निखिल उप्रेती पनि अहिले खासै सक्रिय छैनन् । विराज भट्ट, सुशील क्षेत्रीलगायत कलाकार पनि एक्सन कलाकारका रूपमा उदाए । केही हिट फिल्म दिएपछि हराए । २० वर्षअघि ‘आदि कवि भानुभक्त’बाट डेब्यु गरेका अभिनेता दिलिप रायमाझी एक समय फिल्ममा निकै व्यस्त भए । उनका ‘दर्पण छायाँ’ र ‘आफ्नो मान्छे’ दर्शकले खुब रुचाए । उनी पनि अहिले सक्रिय छैनन् । अर्का रोमान्टिक हिरो श्रीकृष्ण श्रेष्ठका फिल्म ‘ए मेरो हजुर’, ‘वर पीपल’, ‘आफ्नो मान्छे’, ‘सुख दुःख’, ‘कोहिनुर’ चर्चित थिए । उनको देहान्त भइसकेको छ ।


०६२/०६३ को आन्दोलनपछि नेपाली सिनेमा डिजिटल युगमा प्रवेश गरेसँगै सिनेमाको मेकिङले पनि नयाँ मोड लियो र अभिनय शैलीमा पनि परिवर्तन ल्यायो । यसमा नेपाली रंगमञ्च क्षेत्रको योगदानलाई धेरै समीक्षकहरूले जस दिने गरेका छन् । सुनील पोखरेल नेतृत्वको गुरुकुल र अनुप बराल नेतृत्वको एक्टर्स स्टुडियोको सिकाइबाट आएका कलाकारहरूको प्रभाव पछिल्लो दशकको उल्लेखनीय पक्ष हो । ०६८ सालमा निर्मित ‘लुट’मार्फत सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, सिर्जना सुब्बा उदाए । जब दयाहाङ राईले रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’मा प्रमुख भूमिकामा अभिनय गरे, त्यसपछि परम्परागत हिरोको मान्यता अर्थात् मिलेको जिउडाल, अग्लो कद, चकलेटी लुक्स चाहिन छाड्यो ।


त्यसो त दयाहाङ ‘लुट’ अघि नै ‘दासढुंगा’ लगायत सिनेमामा अभिनय कौशलता देखाइसकेका कलाकार हुन् । ‘कबड्डी’पछि त दयाहाङ कति व्यस्त भए भने अहिलेसम्म उनको हातबाट फिल्मको अफर फुत्किएको छैन । ‘बधशाला’, ‘झोले’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ आदि उनी अभिनित चर्चित फिल्म हुन् । अब्बल अभिनेताका रुपमा सौगात मल्लको छवि पनि उस्तै छ । ‘लुट’भन्दा धेरै अघि सौगातले नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’मा काम गरेका थिए तर उनी त्यतिबेला धेरैको ध्यानमा परेका थिएनन् । ‘लुट’मा नेवारी टोन, ‘षडङ्ग’मा मधेसी र ‘लुकामारी’मा थारु लवजले उनको अभिनय विविधता झल्काउँछ । पछिल्लो समय रंगमन्चबाट फिल्ममा अभिनय गर्नेको संख्या बढेसँगै फिल्मका लाग ‘मेथड एक्टिङ’ गर्नेहरू पनि बढेका छन् । सौगात, दयाहाङ, विपिन कार्की आदि यही पृष्ठभूमिबाट आएका हुन् ।
यर्थाथपरक र चरित्र प्रधान फिल्ममा काम गर्दै आइरहेका अभिनेता विपिन कार्कीलाई समेत दर्शकले अहिले फिल्मैपिच्छे फरक–फरक अवतारमा देखिरहेका छन् । चाहे त्यो ‘छड्के’, ‘पशुपतिप्रसाद’ वा ‘जात्रा’, ‘हरि’, ‘प्रसाद’ र ‘सेल्फी किङ’मै किन नहोस् । ‘पशुपतिप्रसाद’, ‘जात्रा’ र ‘प्रसाद’बाट त अभिनेताका रूपमा उनले नेसनल फिल्म अवार्ड नै पाएका छन् ।
पछिल्लो समय अभिनेत्रीहरूमा मेनुका प्रधान, ऋचा शर्मा, सुरक्षा पन्त, दिया मास्के, लक्ष्मी बर्देवा, सरिता गिरी, पशुपति राईलगायतले जीवन्त अभिनयमार्फत फिल्मवृत्तमा आफ्नो गहिरो छाप छाडिरहेका छन् । स्वस्तिमा खड्का, केकी अधिकारी लगायतको पछिल्लो प्रयत्न पनि तारिफयोग्य छ । अभिनेताहरूमा रंगमन्चबाट आएर बलियो छाप छाडिरहेका नाजिर हुसेन, कामेश्वर चौरसिया, प्रमोद अग्रहरि, विजय बराल, बुद्धि तामाङ, भोला सापकोटालगायत पनि अभिनयको नयाँ शैली स्थापनमा क्रियाशील छन् ।


दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, सीताराम कट्टेल, कुन्जना घिमिरे, किरण केसीलगायत टेलिभिजनको पर्दामा रुचाइएको ठूलो समय अहिले सिनेमामा कमेडीसहित आइरहेको छ । दीपक, दीपाको ‘छक्कापन्जा’ सिरिजले त व्यापारमा पनि रेकर्ड राखिरहेको छ । ‘अभिनय जे जस्तो गरे पनि नेपाली सिनेमाको दर्शक बढाउन उनीहरूको फिल्मको भूमिका छ, यसलाई नजरअन्दाज गर्न मिल्दैन,’ फिल्म समीक्षक तथा निर्देशक पण्डित भन्छन् ।
०६० को दशकमा आर्यन सिग्देल र जीवन लुइँटेल एक समय खुब चले, चकलेटी अनुहार देखाएर । तर, दिन पहिले जस्तो रहिरहेन । अहिले उनीहरू विस्थापित भए, भुवन केसीका छोरा अनमोल केसी स्टारका रूपमा उदाए । ‘होस्टेल’ फिल्मबाट डेब्यू भएका उनी अहिले बजारका महँगा अभिनेतामा गनिन्छन् । ५० लाखसम्म पारिश्रमिक लिएको चर्चा छ । अनमोलसँगै स्टार किडले फिल्म डेब्यू गर्ने क्रम बढेको छ । कुनै बेला थुप्रै हिट फिल्म दिएकी झरना थापाकी छोरी सुहाना थापा पनि ‘ए मेरो हजुर २’ बाट अभिनयमा उदाएकी छिन् ।
अनमोलकै प्रतिस्पर्धीका रूपमा बजारमा दुई चकलेटी अभिनेताको उदय भएको छ– प्रदीप खड्का र पल शाह । उनीहरूलाई बजारका महँगा अभिनेताका रूपमा लिने गरिएको छ । ‘ड्रिम्स’बाट भित्रिएकी साम्राज्ञीराज्य लक्ष्मी शाह पनि पछिल्लो समय चल्तीमा आएकी अभिनेत्री हुन् । ‘यी सबै डार्लिङ एक्टर्स हुन्,’ अनमोल, प्रदीप, साम्राज्ञी र पलबारे नाट्यनिर्देशक तथा अभिनेता अनुप बराल टिप्पणी गर्छन्, ‘डार्लिङ एक्टरको मोह के हुन्छ भने उनीहरू आफ्नो रूप, आफ्नो लुगाहरू एकदमै राम्रो बनाएर हिँड्न खोज्छन् । उनीहरूलाई मान्छेहरूले मन पराइदिए पुग्छ । कहिलेकाहीँ क्यारेक्टरलाई आत्मसात गर्ने क्रममा निधार खुम्चाउनुपर्ने हुन्छ, चिच्याउँदा अनुहार नराम्रो देखिन सक्छ । हो, अनुहारलाई नराम्रो देखाउने त्यस्ता दृश्यहरू उनीहरू गर्न रुचाउँदैनन् । दाँत राम्रो देखिन्छ भन्ने लाग्यो भने ऊ सधैं मुस्काएर अभिनय गर्न खोज्छ । डिम्पल छ भने सधैं डिम्पलकै पछि दौडिन्छ । उनीहरू एक किसिमको ‘नार्सिज्म’ले ग्रस्त हुन्छन् । आफ्नो क्षमता बढाउने हो भने विविधता दिन सक्नुपर्छ । कति लभरब्वाइ भएर खेल्ने ?’
यी कलाकारभित्र पनि प्रतिभा छ तर त्यसका लागि उनीहरू डार्लिङ एक्टरको प्रवृत्तिबाट बाहिर आउन जरुरी रहेको बताउँछन्, बराल ।
पछिल्लो समय नेपाली फिल्मको अभिनय शैलीमा परिवर्तन देखिए पनि फिल्म समीक्षक एवं निर्देशक नवीन सुब्बा त्यसलाई पर्याप्त ठान्दैनन् । ‘अहिले फिल्ममा एक्टिङ गरिरहेका धेरैजसो थिएटरका छन्, दुई चारजना हिरो–हिरोइनका छोराछोरीहरू छन् । कोही सिकेर आएका छन्, कोही अनुभव लिएर,’ उनी भन्छन्, ‘कोही वंशानुगत लिएर आएका होलान्, यदि त्यस्तो हुन्छ भने । तर, खासमा अभिनय सिक्ने कुरा हो । अभिनयमा सिकाइको लामो अभ्यासहरू भएको छ । त्यो अभ्यास हाम्रोमा छैन । अभिनय सिकाउने नाममा दुई चारवटा नाङ्लो पसल छ । प्रत्येक थिएटरवालाले एउटा–एउटा नाङ्लो पसल खोलेका छन् । एउटा राम्रो थिएटर स्कुल किन छैन त ? नाटकसम्बन्धी कलेज किन छैन ? हाम्रा थिएटरवालाहरूले किन पहल गर्दैनन् ? अथवा, स–साना पसल चलाउनेहरूले संयुक्त मिलेर एउटा स्कुल किन खोल्दैनन् ? किनभने स्कुल खोल्यो भने आफ्नो पर्सनल बिजेनस सुक्छ ।’
सुब्बा अभिनय सिकाइका लागि एक्टिङ स्कुल खोल्न जरुरी देख्छन् । उनी केही समय कोर्स गरेर आएकै भरमा एक्टिङ गर्न नसकिने बताउँछन् । ‘बाहिरतिर ठूल्ठूला प्रयोगहरू भइरहेका छन्, अभिनयका मामिलामा बाहिर निकै गम्भीर र कलात्मक प्रयोगहरू भएको सुनिन्छ,’ सुब्बा चिन्ता व्यक्त गर्छन्, ‘नेपालमा भने त्यस्तो केही छैन ।’

Page 9
Page 10
प्रजातन्त्रपछि नेपाली सिनेमा

निर्देशक : जसले दिए नयाँ स्वाद

- अनिल यादव

नेपाली सिनेमामा निजी क्षेत्रको लगानी र संख्या बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि ह्वात्तै बढ्यो । पहिलो फिल्म ‘आमा’ २०२२ सालमा रिलिज भएपछि २०४७ सालसम्म निर्माण भएका फिल्म संख्या औँलामै गन्न सकिने छन् । २०२८ सालमा स्थापित शाही नेपाल चलचित्र संस्थान सिनमाको निर्माण र नियमन सरकारी निकाय थियो । यो संस्थानले ०४६ सालसम्म जम्मा ११ सिनेमा बनाएको थियो । र, ०४७ सालअघिका अधिकांश निर्देशक भारतको बम्बईसँग सम्बन्ध राख्नेहरू थिए । ‘आमा’ बनाउन निर्देशक हीरासिंह खत्रीलाई बम्बईबाटै झिकाइएको थियो । निर्देशकको अध्ययन र सिकाइको पृष्ठभूमि कारण नेपाली सिनेमाको कथा, कथ्यशैली र फर्मुला पनि बम्बईकै हावी भएको निर्देशकहरू स्वीकार गर्छन् ।
‘हाम्रा सिनियरहरू प्रकाश थापा, बीएस थापादेखि समकालीन तुलसी घिमिरे, उग्येन छापेल र म त्यतिबेला बम्बईबाट फिल्म सिकेर आएका थियौं,’ ०४२ देखि ०६० सालबीचमा थुप्रै चल्तीका सिनेमा निर्देशन गरेका शम्भु प्रधान भन्छन्, ‘हामीले हिन्दी शैलीकै फिल्म बनाइदियौं । नेपालमा बलिउड प्रभावित फिल्म बन्नुको दोषी हामी नै हौं ।’ शम्भुका अनुसार त्यतिबेला गीत रेकर्ड गर्न पनि बम्बई नै जानुपर्थ्यो, फिल्ममा पनि उताकै जस्तै चार–पाँचवटा गीत र फाइट राख्नै पर्थ्यौ । ‘नत्र त हामीले स्क्रिप्ट नै स्वीकार गर्ने अवस्था थिएन,’ शम्भुले सम्झिए । ०४७ सालअघिसम्म दुई वर्षमा १–२ वटा सिनेमा बन्थे । ०५० को दशकमा राजश्व कार्यालयले लिने मनोरञ्जन करमा छुटको व्यवस्था भएपछि सिनेमा निर्माणको संख्या बढ्न थालेको निर्देशक दयाराम दाहाल बताउँछन् ।


०४७ सालपछिको पहिलो दशकमा बलिउड फर्मुलालाई नै निरन्तरता दिने पंक्ति बलियो रह्यो । तुलसी घिमिरे, प्रकाश थापा, शम्भु प्रधान, प्रताप सुब्बा त्यही पंक्तिका अगुवा हुन् । ०५० को दशकमा घिमिरेले निर्देशन गरेका ‘बलिदान’, ‘दर्पण छायाँ’, ‘दक्षिणा’जस्ता फिल्मले प्रदर्शनको सय दिन नाघेर रेकर्ड नै राखे र उनको लोकप्रियतालाई ह्वात्तै बढाइदिए । उनका प्रायःजसो फिल्ममा सामाजिक विषयको उठान त हुन्थ्यो तर महिलापुरुषको सम्बन्ध नै केन्द्रमा हुन्थ्यो । पीडालाई पनि ‘ग्यालमराइज्ड’ गर्न सक्ने उनको खास खुबी थियो ।
पछि चर्चामा आएका निर्देशक शिव रेग्मीका सिनेमामा घिमिरेकै झल्को पाइन्थ्यो । शिवका ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ए मेरो हजुर’, ‘सुख दुःख’, ‘हामी तीन भाइ’, ‘पाहुना’ आदि व्यावसायिक हिसाबले सफल फिल्म मानिन्छन् । ०५० कै दशकमा लक्ष्मीनाथ शर्माका फिल्म पनि छाए, ‘मिलन’, ‘सारंगी’, ‘छोरी बुहारी’, ‘साथी’ आदि । ‘सम्झना’ हिट भएपछि शम्भु प्रधानले पनि ०६० सालसम्म लगातार फिल्म बनाइरहे । ‘मायालु’, ‘बेहुली’, ‘सम्पत्ति’, ‘स्वर्ग’, ‘सुनचाँदी’, ‘सपना’, ‘नेपाल प्यारो छ’ आदि उनी निर्देशित फिल्म हुन् ।
‘पहिले हामी स्टोरी टेलिङ र म्युजिकमा बढी केन्द्रित हुन्थ्यौं । हाम्रो कथ्य प्रस्तुति सामान्य हुन्थ्यो,’ निर्देशक प्रधान भन्छन्, ‘नेपाली सिनेमा डिजिटल युगमा प्रवेश गरेपछि अहिले प्राविधिक पक्षमा सिनेमा निकै अब्बल हुँदै गएको छ । क्यामेरा, सम्पादन, अभिनय आदि पक्षमा धेरै सुधार भएको छ । पहिलेको अभिनय निकै अस्वाभाविक थियो । हात उठाउनैपर्ने, बोल्दाबोल्दै चश्मा खोल्नैपर्ने हुन्थ्यो । तर, अहिले त्यस्तो नाटकीय अभिनय छैन, कलाकारहरू पात्रकै जीवन बाँचिरहेजस्तो लाग्छ ।’

कसले के बनाए ?
चलचित्र विकास बोर्डका संस्थापक अध्यक्ष यादव खरेलले ०५० सालमा बालकृष्ण समको नाटकमाथि बनाएको ‘प्रेमपिण्ड’ ०४७ सालपछि बनेको सम्झनलायक सिनेमा हो । उनले ५० कै दशकमा महिला बेचबिखनको कथामा ‘चेलीबेटी’सँगै ‘लोभी पापी’, ‘आँधीबेहेरी’लगायत फिल्म निर्देशन गरे ।
०४६ सालमा ‘विजय पराजय’फिल्म निर्देशन गरेर फिल्म मेकिङमा भित्रिएका राजेन्द्र सलभले समेत त्यसपछि ‘भाउजू’, ‘परिभाषा’, ‘भन्नै सकिनँ’ लगायत फिल्म निर्देशन गरे । निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामाले ‘प्रतिज्ञा’, ‘जीवन संघर्ष’, ‘देउराली’, ‘गोरेटो’ आदि फिल्म निर्देशन गरे । कलाकारका रूपमा परिचय बनाएका रमेश बुढाथोकीले समेत ५० को दशकमा थुप्रै फिल्म निर्देशन गरे । ‘मोहनी’, ‘जूनतारा’, ‘अप्सरा’ केही उदाहरण हुन् । ०५० कै दशकमा उदाएका निर्देशक नारायण पुरी छोटो समयमा धेरै चलचित्र बनाउने निर्देशक मानिन्छन् । उनले ‘रगत’, ‘शंकर’, ‘आगो’, ‘तपस्या’, ‘आफ्नो घर आफ्नै मान्छे’, ‘मामाघर’ लगायत थुप्रै चलचित्र निर्देशन गरे ।
बीएस थापाको सहायक निर्देशक किशोर रानाले २०५१ सालमा आफैं सिनेमा निर्देशन गरे, ‘कर्जा’ । त्यसपछि ०५२ सालमा ‘राँको’ बनाए, जुन नेपाली फिल्म इतिहासमा पहिलोपल्ट सिनेमास्कोपमा निर्माण भएको फिल्म थियो । त्यसपछि ‘सीमारेखा’, ‘बन्दकी’, ‘सन्तानको माया’, ‘उपकार’, ‘करोडपति’ लगायत थुप्रै सिनेमा उनले निर्देशन गरे । ‘साइनो’ फिल्ममा उग्येन छोपेलको सहायक निर्देशक भएर काम गरेका प्रकाश सायमीले समेत ०४७ सालको राजनीतिक परिवर्तनपछि सिनेमा निर्देशन गर्ने हिम्मत गरे । ‘पृथ्वी’, ‘सिमाना’, ‘अवतार’, ‘जमिन’ लगायत सिनेमा त्यसकै प्रतिफल हुन् ।
‘युगदेखि युगसम्म’बाट राजेश हमाललाई स्टारका रूपमा जन्माएका निर्देशक दीपक रायमाझीले त्यसपछि पनि लगातार फिल्म बनाए । मायाप्रेम र सामाजिक विकृतिमाथि केन्द्रित रहेर उनले ‘कसम’, ‘प्रेयसी’, ‘हत्या’, ‘परेली’, ‘बज्रपात’ आदि फिल्म निर्देशन गरे । ०४४ सालमा रिलिज भएको ‘सन्तान’ फिल्ममा भिलेन बनेर देखापरेका उज्ज्वल घिमिरे पनि पछि ‘गोठालो’ फिल्मबाट निर्देशकको परिचयमा देखापरे । उनले त्यसपछि ‘जिन्दगानी’, ‘शुभकामना’, ‘छोडी गए पाप लाग्ला’, ‘अन्दाज’, ‘वडा नम्बर ६’ लगायत सिनेमा बनाए ।
प्रताप सुब्बा निर्देशित ‘मसाल’ फिल्ममा प्रमुख भूमिकामा देखिएका अशोक शर्मा पनि पछि आफैं निर्माता र निर्देशक भए । ‘सीता’, ‘गरिब’, ‘निरमाया’, ‘अल्लारे’, ‘यो मायाको सागर’ आदि उनले निर्देशन गरेका फिल्म हुन् । ‘जन्मभूमि’, ‘क्रोध’, ‘पन्छी’ लगायत थुप्रै चलचित्रमा अभिनय गरेका कलाकार आकाश अधिकारी पनि आफैं निर्देशक हुन् । उनले ‘जन्मभूमि’, ‘रणभूमि’, ‘दाग’, ‘को आफ्नो को विरानो’, ‘कोहिनुर’ आदि उनले निर्देशन गरेका फिल्म हुन् ।
देशभक्त खनालले २०५७ सालमा निखिल उप्रेतीलाई सात तलाबाट हाम फलाएर निर्देशन गरेको ‘पिंजडा’ले पनि नेपाली सिनेमामा रियल एक्सन र स्टन्टको शृंखला बढायो । त्यसपछि ‘मन मेरो मान्दैन’, ‘सन्तान थरीथरीका’ आदि फिल्मसमेत उनले निर्देशन गरे । दीपक श्रेष्ठ, शोभित बस्नेत, ज्ञानेन्द्र देउजा, मदन घिमिरे, नरेश पौड्याललगायतले पनि यो समयमा थुप्रै हिट फिल्म दिए । ०४७ सालपछि फिल्म निर्माणमा वृद्धि त भयो, फिल्ममा काम गर्न चाहने निर्देशक, कलाकार र प्राविधिकको संख्या त बढ्यो तर नेपाली फिल्मको मौलिक कथावाचनले खासै स्थान पाउन सकेन । अधिकांश माथि उल्लेखित चल्तीका र सुपरहिट निर्देशक कतिपयले बलिउडकै फर्मुलामा फिल्म बनाए, कतिले त पूरै नक्कल नै गरे ।
‘त्यतबेला तुलसी घिमिरेलगायतका सुपरहिट निर्देशकको सिनेमामा बलिउडको प्रभाव त थियो तैपनि त्यतिबेला नेपालीहरू बलिउडकै चिज पनि आफ्नै भएको हेर्न रुचाउँथे । सायद यसकारण पनि त्यो समय नेपाली सिनेमा निकै चले,’ निर्देशक विनोद पौडेल भन्छन्, ‘त्यसपछि मेकरहरूले आफूलाई ग्रोथ गर्न सकेनन् । उचाइमा पुगेर एकाएक हराए । दर्शक त बढे तर मेकरहरूमा सिनेमाप्रति सिकाइ बढेन ।’
०५२–०५३ सालपछि नेपाली सिनेमामा बढ्दो व्यावसायिकतासँगै खराब प्रवृत्ति पनि बढेको बताउँछन्, निर्देशक मनोज पण्डित । ‘यही बेला सिनेमाको कलात्मक मूल्यलाई बिर्सेर क्यामेराले जे खिचे पनि हुन्छ भन्ने जमात ठूलो आयो,’ उनले भने, ‘जसले सिनेमामा मुर्गा प्रवृत्तिको विकास गर्‍यो । मुर्गा लगानीकर्ता खोज्ने, सिनेमा बनाउने । यसरी नेपाली सिनेमालाई भ्रष्ट बनाउने काम भयो ।’


निर्देशक दयाराम दाहालका अनुसार ०५४/०५५ सालसम्म नेपालमा राम्रो गीत रेकर्डिङ स्टुडियो थिएन, बम्बई जानुपर्ने बाध्यता थियो, सिनेमा निर्माण गर्नु पनि सहज थिएन । ‘०५४ सालमा मेरो सिनेमा ‘ठूल्दाइ’ सुपरहिट भएर म अत्याधिक व्यस्त हुँदासम्म मलाई मान्छेहरूले सोध्ने प्रश्न हुन्थ्यो, चलचित्रमा काम गरेर भात खान पुग्छ ?,’ उनी सम्झन्छन्, ‘अहिले म गीत फुर्‍यो भने तत्काल एरेन्जरसँग बस्न सक्छु । तर, ०५३ सालमा ‘दौतरी’ फिल्मको गीत रेकर्डिङ गर्दा मैले राजेश पायल राईलाई रेल चढाएर गीत रेकर्ड गराउन बम्बई लानुपरेको थियो ।’
बलिउडबाट प्रभावित फर्मुला फिल्मकै दबदबाका बीच ०५० को दशकमा मौलिक कथावाचनको प्रयास गर्ने र सिनेमालाई कलामाध्यमका रूपमा लिने निर्देशकहरू पनि आए । ती नाम हुन्, नविन सुब्बा, छिरिङ रितार शेर्पा, रवि बराल, मनोज पण्डित । छिरिङले ०५७ सालतिर बनाएको ‘मुकुन्डो’ नेपालबाट पहिलोपटक ओस्करमा विदेशी भाषामा प्रतिस्पर्धा गर्न गएको फिल्म थियो । त्यस्तै सुब्बाको ‘नुमाफुङ’ परम्परागत कथ्यशैलीभन्दा विल्कुलै फरक र मौलिक थियो । सुब्बाको यो सिनेमाको विषय र कलात्मक पक्षमाथि आज पनि उत्तिकै बहस/विमर्श भइरहन्छ । ०६२ सालमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय चलचित्र महोत्सवमा समेत यो सिनेमा ०५६ देखि ०५९ बीच बनेका चलचित्रमध्ये सबैभन्दा उत्कृष्टका रूपमा पुरस्कृत भएको थियो ।


रवि बरालको ‘चमेली’ यथार्थपरक सिनेमा नै थियो । राजनीतिक सिनेमा बनाउन रुचि राख्ने मनोज पण्डितले ‘दासढुंगा’, ‘बधशाला’ जस्ता सिनेमा बनाए । ०५० को दशकमा नवीन, छिरिङहरू भारतको सिनेमाको वैकल्पिक आन्दोलनलाई समेत अध्ययन गरेर आएका थिए । बम्बईबाट प्रभावित परम्परागत कथ्य शैलीसँग उनीहरूको असहमति थियो ।

जनआन्दोलनपछि नयाँ मोड
०६२/०६३ को जनआन्दोलनपछि नेपाली सिनेमाले नयाँ मोड लिएको छ । यो समयमा फिल्म मेकिङको औपचारिक अध्ययन गरेका र प्रतिभाशाली युवाहरूको उदय भयो । समाज संकट र समस्याहरूसँग जुधिरहेको बेलामा राजनीतिक आन्दोलनसँग सम्बन्धित सिनेमा पनि बने । माओवादी आन्दोलनप्रति फरक–फरक दृष्टिकोण राखिएका सिनेमा पनि यो समयमा बने ।
‘यो केही राम्रा मेकर जन्मिएको समय हो,’ निर्देशक विनोद पौडेल भन्छन्, ‘निश्चल बस्नेत, मिनबहादुर भाम, दीपक रौनियार, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ, जोयस पाण्डे उदाहरण हुन् ।’ नयाँ र फरक सोच बोकेका फिल्ममेकरहरू बढिरहेको पौडेल बताउँछन् । ०६८ सालमा निश्चल बस्नेतको ‘लुट’ रिलिज हुनु केही दिनअघिसम्म चलचित्र विकास बोर्डले सिनेमा नचलेका कारण सिनेमा क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गर्दै थियो । तर, ‘लुट’ व्यावसायिका रूपमा सुपरहिट भएपछि दर्शकलाई पुनः नेपाली सिनेमातर्फ आकर्षण गर्न यो सिनेमा कोशेढुंगा सावित भयो ।
‘अनागरिक’, ‘कबड्डी’ जस्ता फरक स्वादका सिनेमा बनाएर आफ्नो अलग परिचयसहित सिनेमा जगतमा स्थापित निर्देशक हुन्, रामबाबु गुरुङ । मुस्ताङको रैथाने दृश्यहरूको नौलोपनाका कारण पनि ‘कबड्डी’का तीनै शृंखला दर्शकहरूले रुचाएका छन् । ‘कबड्डी’ले नै रंगकर्मी दयाहाङ राईलाई सिनेमा क्षेत्रको ‘पपुलर हिरो’का रूपमा स्थापित गर्‍यो । यौनमनोविज्ञानमा आधारित भनिएको ‘चपली हाइट’ हुँदै ‘पशुपतिप्रसाद’ र ‘आमा’सम्म आइपुग्दा निर्देशक दीपेन्द्र के खनालको छवि पनि प्रयोगवादी निर्देशकका रूपमा स्थापित भयो ।
प्रविधिको चरम विकाससँगै दीपक रौनियारले निर्देशन गरेको ‘हाइवे’लाई झन् विश्व सिनेमाकै प्रभाव मानियो । पछि उनले ‘सेतो सूर्य’ बनाए द्वन्दोत्तर समाजको कथामाथि । त्यस्तै मिनबहादुर भामले ‘कालोपोथी’मार्फत कर्णालीको जीवन मात्रै लिएर आएनन्, नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने शैलीसहित आए । समलिंगी कथा बोल्ने सुवर्ण थापा निर्देशित ‘सुनगाभा’ र टेम्पो चालक महिलाको कथा भन्ने विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई पनि यो समयका फरक सिनेमाका रूपमा लिने गरिन्छ । टेलिभिजनको हास्यशृंखलाबाट उदाएको दीपकराज गिरी र दीपाश्री निरौलाको समूहको हास्यव्यंग्य सिनेमामार्फत यतिखेर सक्रिय छ ।
निर्देशक शम्भु प्रधान बदलिएको समयलाई स्वाभाविक भन्छन् । ‘हरेक मान्छेको जीवनमा एउटा काल हुने रहेछ । प्रोडक्टिभ र क्रिएटिभ हुने पनि फेज हुने रहेछ, पागलपनको पनि फेज हुने रहेछ’, उनले भने, ‘अहिले नयाँ पुस्ता आयो । उनीहरूसँग हामीले स्वाभाविक रूपमा प्रतिस्पर्धा गर्न सक्दनौं किनभने उनीहरू हामीभन्दा फुर्तिला हुन्छन् । हाम्रो क्रिएसन पनि घटेकै हो ।’

Page 11
Page 12
Page 13
Page 14
Page 15
Page 16
प्रजातन्त्रपछि नेपाली सिनेमा

छोटोमा फरक कथा

- कला अनुरागी
जुनुको जुत्ता’को दृश्य ।

कोरोना सन्त्रासले विश्वलाई आक्रान्त पारिरहेको बेला सिनेमा क्षेत्रमा एउटा सुखद् खबर आयो– विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करणमा नेपाली फिल्म पनि छनोटमा परेको । केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ओवरहउसेनको २०२० को संस्करणमा छनोट भएको छ ।
विश्वभरिबाट आवेदन गरेको ६५ सयभन्दा बढी फिल्महरूबाट उत्कृष्ट एक सय छनोट हुँदा एसियाबाट १९ फिल्म परेका थिए । जसमा यसपटक ‘जुनुको जुत्ता’ छानियो । नेपालका विभिन्न चलचित्र महोत्सवमा पुरस्कृत भइसकेको यो फिल्म ‘सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि छानिएको छ ।
यो खबरले नेपाली सर्ट सिनेमामा सक्रियहरूलाई उत्साहित बनाएको छ । निर्देशक केदार श्रेष्ठ भन्छन्, ‘रङ्गकर्ममा र लेखनमा रमाइरहेको बेला फिल्मबाट कथा भन्ने प्रयास गरेको थिएँ । विश्वप्रसिद्ध र सम्मानित महोत्सवमा छनोट हुँदा उत्साहित छु ।’ उनीसँगै निर्माता विभु पौडेल पनि प्रफुल्लित छन् । आफूले निर्माण गरेको सर्ट फिल्मले अन्तर्राष्ट्रिय मञ्च पाएकोमा खुसी त छन् नै, नेपाली कथा विश्व समुदायलाई सुनाउने मौकाको रूपमा उपयोग गर्न सकिनेमा आशावादी पनि ।
यसअघि, सनडान्स फिल्म फेस्टिभल (२३ जनवरी– २ फेब्रुअरी) मा अंकित पौडेलको सर्ट फिल्म ‘सङ अफ क्लाउड्स’ छनोट भयो । सनडान्सलाई अमेरिकाको प्रतिष्ठित र संसारकै ठूलो मध्येको फिल्म फेस्टिभल मानिन्छ । विशेष गरी नयाँ र सर्ट फिल्म मेकरका निकै ठूलो प्लेटफर्म हो । ‘यसले विश्वका राम्रा सिनेमा निर्देशक र निर्मातासँग भेट्ने अवसर दिलायो । यस्ता मञ्चहरूले नेटवर्क निर्माणमा राम्रो भूमिका खेल्ने रहेछ’, उनले भने । यसअघि सन् २०१७ मा पूजा गुरुङ र विभूषण बस्नेतको सर्ट फिल्म ‘दद्या’ले सनडान्स ‘स्पेशल जुरी अवार्ड फर सिनेमाटोग्राफी’ प्राप्त गरेको थियो । जसको सिनेमाटोग्राफी चिन्तनराज भण्डारीले सम्हालेका थिए ।
यी त पछिल्ला उदाहरणहरू हुन् । नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन सर्ट फिल्मले राम्रो भूमिका खेल्न थालेको केही अवधि गुज्रिसकेको छ ।
एकेडेमी अफ मोसन फिक्चर आर्ट एण्ड साइन्सेजले ४० मिनेटसम्मको फिल्मलाई सर्ट फिल्मको रूपमा लिएको छ । विश्वभरका अधिकांश फिल्म फेस्टिभलमा यही मान्यतालाई पछ्याउने गरिएको छ । एकेडेमी अवार्डः द ओस्कारले पनि सम्पूर्ण क्रेडिटसहित ४० मिनेट वा सोभन्दा कम अवधिका फिल्मलाई सर्ट फिल्मको भरिभाषा दिएको छ । त्यसो त कतिपय सन्दर्भमा ५९ मिनेटसम्मको फिल्मलाई सर्ट मान्ने गरिएको निर्देशक सुवर्ण थापा बताउँछन् । फ्रान्समा सिनेमा अध्ययन गरेर सर्ट र फिचर फिल्म दुवैको निर्देशनमा सक्रिय सुवर्णका अनुसार ३० मिनेट अवधिसम्मका फिल्मलाई सर्ट र ५९ मिनेटसम्मलाई मध्यम मानिने गरिएको छ ।
नेपालमै पनि यस्ता छोटा फिल्म फेस्टिभलहरूमा समावेश हुँदै आएको छ । अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ), नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)लगायतले सर्ट फिल्मको विधागत प्रतिनिधित्व गराइरहेका छन् । त्यसैगरी निरन्तर हुन नसके पनि एकादेशमा, ६० सेकेन्ड सर्ट फिल्म फेस्टिभललगायतले सर्ट फिल्मको सम्भावनालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेले ।

छोटोमा आकर्षण
नेपालमा सर्ट फिल्मको इतिहास उति व्यवस्थित हिसाबले अभिलेखीकरण भएको पाइन्न । यसबारे अध्ययन गर्दा सन् २००८ पछिका अभिलेखमात्रै चलचित्र विकास बोर्डमा पाएको अंकित बताउँछन् । ‘त्यसबेला निडर नामक फिल्म बोर्डमा दर्ता भएको पाइएको छ । त्यसअघिको खासै रेकर्ड पाइएन’, उनले भने । वि.सं. २०६४ मा सर्ट फिल्म ‘मलामी’ बनाएका सुवर्णका अनुसार त्यसअघि यो विधालाई पहिचान दिने गरी धेरै काम हुन नसकेको बताउँछन् । ‘टेलिभिजनमा आधा घन्टाको स्लटमा मिल्ने गरी फिल्मचाहिँ बनेको पाइन्छ । तर, त्यसलाई सर्ट फिल्म भन्ने विधाकै पहिचान भने दिइएको पाइँदैन । अर्कोचाहिँ सर्ट फिल्मलाई पछिसम्म पनि ‘डकुमेन्ट्री’कै विधाको रूपमा बुझिने गरिएको यथार्थ पनि नेपालमा थियो’, उनले भने ।
सर्ट फिल्म अध्ययन, लेखन र निर्देशनमा सक्रिय युवा राजेशप्रसाद खत्री पनि सुवर्णसँग सहमत देखिन्छन् । उनको अध्ययनले पनि फ्रान्सको इमेजेनेरिज प्रोडक्सन र सिनेमा डी प्यारेलाल नेपालको सहकार्यमा सरुभक्तद्वारा लिखित र थापाद्वारा निर्देशित २० मिनेटको ‘मलामी’सँगै नेपालमा सर्ट फिल्म निर्माण अघि बढेको देखाएको छ । त्यसपछि बनेका अविनाश विक्रम शाह निर्देशित ‘स्वर्ग यहाँ, ‘म खुसी छु’ अनुप पौडेल निर्देशित ‘स्पर्श’, सन्तोष भट्टराई निर्देशित ‘सास फेरे जस्तो लाग्छ’, पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित ‘द कन्टाजियस अपरिसन्स अफ डम्बरे डेन्ड्राइट’ र ‘दद्या’, मिन भाम निर्देशित ‘बाँसुल्ली’ लगायतका सर्ट फिल्मले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल भएको उनको बुझाइ छ । त्यसपछि पनि निरन्तर राम्रा सर्ट फिल्महरू बनिरहेको उनले पाएका छन् । त्यसमा सुजित बिडारी, नीराजन राज भेटवाल, शेनाङ ग्याम्जो तामाङ, राजन कठेत, कला संग्रौला, सचिन घिमिरे, दीपक रौनियार, अरुणदेव जोशी, परिच्छेद सेन, सुविज्ञ सुन्दर श्रेष्ठ, मनोजबाबु पन्त, प्रवीणकुमार रावत, सुनिल पाण्डे, रजीला श्रेष्ठ, अस्मिता शिरीषलगायतका बनाएका सर्ट फिल्महरूले राम्रो प्रतिक्रिया पाएका छन् ।
पछिल्लो समय फिल्म कलेजहरूको सुरुवात र डिजिटल प्रविधिको विकाससँगै सर्ट फिल्मले विधागत पहिचान पाएको सुवर्णको बुझाइ छ । डिजिटल प्रविधिले अन्तर्राष्ट्रिय मान्यताहरूलाई बुझ्न र त्यसैअनुसार काम गर्न सघाउ पुर्‍याएको उनले बताए ।
सर्ट फिल्म निर्माणमा सक्रिय निर्देशक मनोजबाबु पन्तका अनुसार पछिल्ला दुई दशक अघिदेखि सर्ट फिल्म थालिएको बताउँछन् । विशेषगरी आर्थिक भारका कारण सेलुलोइड सिनेमामा काम गर्न नसकिरहेका सिनेमेकरहरूले सर्ट फिल्मको बाटो छनोट गरेको उनको बुझाइ छ । उनी भन्छन्, ‘एकातिर सस्तो र सरल प्राविधिक सुलभताले यसमा आकर्षण बढ्यो । अर्कातिर मूलधारको सिनेमा संस्कारप्रति असन्तुष्ट सिर्जनशील जमातले यसलाई आफ्नो विधा बनायो । साथै गम्भीर सिनेमा निर्माणको अभ्यास गर्नेलाई यसले अन्तर्राष्ट्रिय मञ्चको बाटो पनि खोलिदियो ।’

फरक शैली र नयाँ प्रविधि
विषयवस्तु र शैलीका हिसाबले सर्ट फिल्मको अब्बलता तुलनात्मक रूपमा बलियो देखिन्छ । एकैखाले सिनेमाहरू मात्र निर्माण भइरहेको मूलधारको तुलना गर्दा सर्ट फिल्महरूका प्रस्तुतिमा नयाँ शैलीहरू खोजिएको मनोज बताउँछन् । उनी भन्छन्, ‘विषयवस्तुप्रति गम्भीर र सामाजिक–राजनैतिक चेत पनि गहिरो देखिन्छ ।’ तथापि प्रविधिमा भने कमजोर देखिएको उनको मूल्यांकन छ । थोरै बजेटमा निर्माण गर्नुपर्ने बाध्यताले सम्झौताको बाध्यता रहेको उनको बुझाइ छ ।
अंकितचाहिँ सर्ट फिल्ममा पनि ‘स्टोरी न्यारेसन’ नै धेरै आइरहेको देख्छन् । ‘हुन त कलात्मक कार्य आफैंमा स्वतन्त्र हुन्छ । तथापि यसमा अलिक बढी प्रयोग गर्न सकिन्छ भन्ने लाग्छ । त्योचाहिँ अलि कम भइरहेको हो कि भन्ने अनुभूति हुन्छ’, उनी भन्छन् । फिल्म कलेजको स्थापनाले सिनेमा निर्माणमा अधिकतम सकारात्मक भूमिका खेले पनि शैलीगत विविधतामा चाहिँ एकै खालको ‘स्कुलिङ’ निर्माण गर्ने गरेको कुराले यसमा प्रभाव पारेको उनको मूल्यांकन छ । त्यसमा चाहिँ सर्जकहरू आफैं सचेत र सिर्जनशील हुनुपर्नेमा उनको जोड छ ।
यसमा सहमत हुँदै राजेश थप्छन्, ‘प्रायः लघुचलचित्रहरू लेखकका पूर्वअनुभव र आफ्नै धरातलमा आधारित देखिन्छ । त्यसो हुँदा स्थानीय विषयवस्तुलाई सर्वव्यापीकरण गर्ने गरी निर्माण शैली अपनाएको पाइन्छ ।’ सर्ट फिल्ममै सक्रिय नवनिधि दाहालको बुझाइ पनि उस्तै छ । ‘नेपालमा बनिरहेका लघु सिनेमाको ठूलो हिस्साका विषयवस्तु सर्जकको व्यथाले भरिएको देख्छु । उनीहरूका स्मृतिको प्रक्षेपण देख्छु । तर, अरू थुप्रै विषयवस्तुमा पनि काम भएका छन् । शैलीमा आत्मकेन्द्रित कथावाचन अलिक बढी पाउँछु ।’ उनी प्रविधिमा भने एकदमै धेरै विविधता देख्छन् । उनको अध्ययनमा डिएसएलआर क्यामेरा तथा कम प्रकाशहरूको प्रयोगबाट काम भएका छन् भने मोबाइल फोनमा खिचिएका सिनेमा पनि बढिरहेका छन् ।

करियर कि परीक्षण ?
सर्ट फिल्म सिनेमा निर्माणलाई सिनेमा क्षेत्रमा काम गर्न चाहनेहरूले क्षमता परीक्षण र करियर दुवै दृष्टिकोणबाट अँगालेको पाइन्छ । राजेश भन्छन्, ‘लघु चलचित्रले मभित्रको क्षमताको पहिचान गरायो । केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भई केही उपलब्धि हात पार्न सफल भयो ।’ त्यसैका आधारमा आफू अन्तर्राष्ट्रिय महोत्सवद्वारा सञ्चालित चलचित्र अध्यापन गराउने संस्था (एसियन फिल्म एकेडेमी, बर्लिनाले ट्यालेन्ट क्याम्पस)मा छनोट भएको उनले सुनाए । त्यसबाट आफ्नो चलचित्रप्रतिको बुझाई फराकिलो हुनुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीको सञ्जालमा जोडिँदै गएको उनी बताउँछन् । चलचित्र संसारको बुझाइ र सञ्जालको विकास करियर निर्माणको बलियो आधार भएकाले यसले दीर्घकालीन फाइदा हुने उनको बुझाइ छ ।
नवनिधिलाई पनि त्यस्तै लाग्छ । ‘तुलामै राखेर नाप्ने भने क्षमता परीक्षण गर्न आउनेहरू बढ्ता हुनुहुन्छ । तैपनि, केही सर्जकहरू करियरका लागि भनेर लागि रहनु भएको छ । लागेका मध्येको थोरैको मात्र सफलता मिलेको देख्छु । धेरै जसो संघर्षमै हुनुहुन्छ ।’
रजीला श्रेष्ठका लागि चाहिँ यो अभ्यास बढी हो । हरेक सर्ट फिल्ममा फरक अनुभव हुने बताउँदै उनी भन्छिन्, ‘फिल्म बनाउने कुरामा यही नै ठीक हो भन्ने कहिल्यै हुँदैन । सिक्दै नयाँ चुनौतीको सामना गर्दै जाने हो । यसो गर्दा आफ्नो क्षमताको परीक्षण गरिरहेकी हुन्छु र भोलि गएर ठूलो पर्दाको फिल्म बनाउँदा यो अनुभवले मद्दत पुर्‍याउँछ भन्ने विश्वास छ ।’
मनोज भने यसभन्दा अलिक अघि बढ्छन् । उनको दृष्टिकोणमा यो करियरसँग मात्रै सम्बन्धित कुरा होइन । सर्जकको सिर्जनासँग सम्बन्धित कुरा हो । चर्चित फिलिपिनो निर्देशक लाभ डीयाजको सब्द सापटी लिएर विश्लेषण गर्छन्, ‘सिर्जनाका हिसाबले छोटो सिनेमा भन्ने कुरै हुँदैन, जसरी सानो क्यानभासमा पोतिएको पेन्टिङलाई सानो पेन्टिङ भन्न मिल्दैन । त्यस्तै छोटो समय अबधिको सिनेमालाई शर्ट फिल्म भानिरहनु पर्दैन । एउटा सर्जकले विषयवस्तुको मागअनुसार जुनसुकै लम्बाइको सिनेमा बनाउन सक्छ ।’
स्वाभाविक रूपमा छोटा सिनेमा बनाउने सर्जकले फिचर सिनेमा निर्माण गर्ने सपना देख्ने उनको बुझाइ छ । अपवादबाहेक धेरै छोटा सिनेमा फिचर सिनेमा निर्माणको प्रस्थान बिन्दुका रूपमा रहेका हुन्छन् । उनले त्यसैले मूलतः छोटा सिनेमाहरू क्षमता परीक्षण सँगसँगै आफ्नो सिर्जनाको भोक मेटाउने कार्यका रूपमा लिएका छन् । त्यसमा राष्ट्रिय–अन्तर्राष्ट्रिय दर्शकबीचमा पुग्ने उद्देश्य पनि हुन्छ नै ।

सङ अफ क्लाउड्सको दृश्य ।

आर्थिक सुरक्षाको दृष्टिकोणले पनि सर्ट फिल्मलाई फिचरको प्रस्थानविन्दु मान्दा कसैको आपत्ति देखिँदैन । नेपालको सन्दर्भमा पछिल्लो समयमा चलचित्रमा फरक स्वाद दिन सफल निर्देशकहरू दीपक रौनियार, मीन भानलगायतले सर्ट फिल्मलाई नै आफ्नो सिनेमा करियरको प्रस्थान विन्दु बनाएका छन् । त्यसो त कतिपय विषयवस्तुका हिसाबले पनि सर्ट फिल्म विधाको माग हुन्छ । ‘मलामी’पछि ‘छोरा’ र ‘कोख’ बनाएका सुवर्णले अहिले पनि एउटा सर्ट फिल्मको कथामा काम गरिरहेका छन् ।

सिर्जनात्मक सीमा र सुन्दरता
सर्ट फिल्मको सीमा यसको अवधि हो । निश्चित समयमा खुम्च्याउनु पर्ने भएकाले फिचरमा कथावाचनको सम्भावना हुँदैन । त्यसको फाइदा भनेको परम्परागत कथावाचनको शैली परिवर्तन गर्नु अनिवार्यता बन्न जान्छ । मनोज भन्छन्, ‘त्यही सीमितताभित्र अभिव्यक्त हुनु पर्ने कुरामा नै सर्ट फिल्मको सम्भावना र सौन्दर्य लुकेको हुन्छ । परम्परागत कथा भन्ने शैली परिवर्तन गर्नका लागि नयाँ शैली र प्रयोगको खोज गरिन्छ ।’ लामा सिनेमा पात्रका द्वन्द्वका आरोह–अवरोहमा केन्द्रित हुन्छन् र धेरैमा संरचनात्मक एकता पाइन्छ । दर्शक र बजारका लागि पनि यी कुरा आधारभूत हुन जान्छन् । तर सर्ट फिल्ममा चाहिँ दृश्य र आवाजको भाषामा धेरै सम्भावना उत्खनन गर्न सकिने उनको अनुभव छ । उनी उनी आफ्नो सर्ट फिल्म ‘अवशेष’को उदाहरण दिन्छन्, ‘यसमा कथाको कुनै सिलशिला छैन । मेरो स्मृति र स्वैरकल्पनामा छरिएका दृश्य र आवाजलाई समयको प्रवाहमा स्वतन्त्र छोडिदिएको छु । कथानक अपेक्षालाई तोड्ने यो एउटा प्रयोग हो ।’
यसो भन्दै गर्दा उनी सिनेमाको कथा बनोटको अभ्यस्त शैलीका कारण यस्ता प्रयोगलाई आत्मसात् गर्न हुने चुनौतीलाई पनि उनी नजरअन्दाज गर्दैनन् । तथापि दर्शक र बजारको अपेक्षामा नबाँधिइकन स्वतन्त्र हिसाबले काम गर्न पाउनुलाई उनी सिर्जनात्मक मूल्यमा निकै महत्वपूर्ण ठान्छन् । उनको अनुभूति छ, ‘छोटा सिनेमाहरू सर्जक केन्द्रित हुन्छन् । काव्यिक वाचनको धेरै गुन्जाइस रहन्छ छोटो सिनेमामा ।’
प्रयोग, नीजता र सिर्जनात्मक उचाइको यो विश्लेषणमा नवनिधि पनि सहमत छन् । सर्ट फिल्मको सुन्दरता नै यही भएको उनको निष्कर्ष छ ।

कस्ता बन्दैछन् ?
पछिल्लो समयमा सर्ट फिल्म निर्माण ह्वात्तै बढेको मान्न सकिन्छ । यो संख्यात्मकमात्रै छैन, गुणात्मक पनि छ । मनोज भन्छन्, ‘नेपालमा बन्दै गरेका धेरै छोटा सिनेमाहरू कलात्मक दृष्टिकोणले अब्बल छन् । अन्तर्रास्ट्रिय महोत्सवहरूमा दरिलो उपस्थिति जनाइरहेका छन् । धेरै पुरस्कृत भएका छन् । सिनेमाको शिल्प र शैलीको नयाँ आयामहरू छोटा सिनेमाको संस्कारबाट नै खोजिदैछन भन्दा फरक पर्दैनन् ।’ यसलाई उनी मूलधारका फिचर सिनेमासँगको तुलना नै दोहोर्‍याउँछन् । त्यसरी हेर्दा सर्ट फिल्म कलात्मक रूपमा गहिरा र विषयगत रूपमा सचेत देखिन्छन् ।
सर्ट फिल्म राम्रो बनिरहेको छ भन्ने प्रमाण यसलाई अन्तर्राष्ट्रिय महोत्सवहरूले दिइरहेको स्थानले देखाइरहेको रजिला बताउँछिन् । ‘यसले अझै राम्रो फिल्म बनाउनका लागि अन्तर्राष्ट्रिय वर्कसपमा सहभागी हुने वातावरण पनि बनाइरहेको छ’, उनी भन्छिन्, ‘जसले अझ राम्रो निर्माण हुने वातावरण बन्दैछ ।’ पुरुषहरूको तुलनामा महिलाको सक्रियता र उपस्थिति कमजोर हुनाले विषयगत रूपमा पनि केही असन्तुलन देखिए पनि पछिल्लो समय निर्देशन, लेखन, अभिनय, सिनेमाटोग्राफी, सम्पादन आदिमा सहभागिता बढ्दैछ । त्यसैले अबको दिनमा यसले अझ राम्रो फिल्म बन्न सघाउनेमा उनी आशावादी छिन् ।
राजेश यस सन्दर्भको सार खिच्छन्, ‘अहिले थोरै मात्रामा एक्सपेरिमेन्टल छन्, केही राजनैतिक र प्रायःचाहिँ आफ्नै मौलिकतामा आधारित समाजिक लघु चलचित्रहरू बनिरहेका छन् ।’
नेपालमा लगभग दर्जनवटा जति सिनेमासम्बन्धी शैक्षिक संस्था छन् । ती संस्थाहरूबाट बर्सेनि दर्जनौं सिनेमा बनिरहेको अवस्था छ । त्यस्तै विदेश बसेर सर्ट फिल्म बनाउनेको संख्या पनि उत्तिकै छ । त्यसमा अन्तर्राष्ट्रिय महोत्सवहरूमा सहभागी हुनेहरूको चर्चा बढी हुन्छ र धेरैले तिनैबारे थाहा पाउँछन् । नवनिधिले पनि त्यसैका आधारमा मूल्यांकन गर्दा सर्ट फिल्म कलात्मक विधामै सीमित रहेको पाउँछन् । जसको व्यवसायिक आयाम खोज्न भने बाँकी छ ।

बजारको कसीमा कमजोर
सर्ट फिल्मको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती बजार नै हो । अन्य कलात्मक विधाजस्तै यसको पनि बजारीकरण कमजोर देखिन्छ । तथापि तुलनात्मक रूपमा यसमा लगानी भने हुन्छ नै । यसलाई सर्ट फिल्म विधाकै सीमाको रूपमा पनि बुझ्न सकिन्छ । ‘थिएटर रिलिज हुन नसक्नु नै यो विधाको कमजोरी हो ।’ सुवर्ण भन्छन्, ‘फ्रान्समा एक समय फिचर फिल्मको अगाडि देखाउने र कलेक्सनको तीन प्रतिशतसम्म चाहिँ सर्ट फिल्मलाई दिने प्रणाली पनि सुरु गरिएको थियो । तर विवादका कारण त्यो पनि रोकियो ।’
त्यसैले छोटो सिनेमाको ध्येय अन्तराष्ट्रिय महोत्सवमा सहभागी हुनु र सर्जकलाइ फिचर सिनेमा बनाउने बाटो खुला गर्नुमै सीमित देखिन्छ । छोटा सिनेमाको स्वतन्त्र बजार र प्रदर्शनीको संस्कार अझै बलियोसँग सुरु हुन सकेको छैन । ‘संसारभरी नै छोटा सिनेमा नियमित प्रदर्शनीको संस्कारभन्दा बाहिर छन् । त्यसैले महोत्सव र सिमित प्लेटफर्ममा नै खुम्चिएको छ’, मनोज भन्छन्, ‘हुन त छोटा सिनेमा समूहमा राखेर प्रदशन गर्ने शैली लोकप्रिय छ अन्तराष्ट्रिय बजारमा, जसलाई अम्निबस फिल्म वा एन्थोलोजी फिल्म भनिन्छ । नेपालमा भने जुन गतिमा छोटा सिनेमा बनिरहेका छन्, यसका प्रदर्शनीका प्लेटफर्महरूको खोज त्यो गतिमा भएको छैन ।’
त्यसैले लाभ वा लगानी फिर्ता नहुने स्वीकारोक्तिमा नै सर्ट फिल्महरू बनिरहेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुनु र अवार्डको लागि प्रतिष्पर्धा गर्नु नै अहिले सर्ट फिल्मको ध्येय भएको छ । ‘नेपालमा बनेका सयौं सर्ट फिल्ममध्ये एक दर्जन सिनेमाले पनि लगानी उठाएका छैनन्’, नवनिधि आफ्नै फिल्मको उदाहरण दिँदै भन्छन्, ‘मैले अवशेष ६ लाखमा बनाएँ । तर ९० हजारमात्रै पुरस्कारबापत् पाएको छु ।’
टेलिभिजन च्यानल र अनलाइन प्रदर्शनको विकल्प पनि सर्ट फिल्मका लागि बलियो विकल्प हो । शेनाङ ग्याम्जो तामाङ निर्देशित चलचित्र ‘सुपरमंक’ फ्रेन्च प्रिमियम टेलिभिजन च्यानल क्यानल प्लसले लिएको थियो । यो एउटा उदाहरण हो । यस्तो सम्भावनाको खोजी नेपाल र नेपाल बाहिर पनि गर्न सकिने राजेश बताउँछन् ।
अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने सर्ट फिल्महरूले सिनेमा संस्था वा कम्पनीहरूले ‘फन्डिङ’ पनि गर्ने गरेका छन् । सुवर्ण त्यस्तै ‘फन्ड’ पाउनेमध्येका एक हुन् । उनले आफ्नो पहिलो सर्ट फिल्म ‘मलामी’का लागि फ्रान्सको नेसनल सेन्टर अफ सिनेमाटोग्राफीबाट झन्डै ६० हजार युरोको ‘फन्ड’ पाएका थिए । त्यस्तै टेलिभिजन च्यानलहरूबाट १० हजारजति फन्ड पाए । दोस्रो फिल्म ‘छोरा’मा उनले त्यतैको ‘फन्ड’ पाए भने ‘कोख’चाहिँ नेपाली संस्था ‘फेथ’को ‘फण्ड’मा बनाएका थिए । ‘विदेशमा आफ्नै लगानीमा सर्ट फिल्म बनाउने कम नै हुनुहुन्छ । प्रतिस्पर्धात्मक रूपमा फन्डका लागि प्रोजेक्ट छनोटमा पारेर नै धेरै काम गरिन्छ’, सुवर्ण भन्छन्, ‘त्यस्ता अन्तराष्ट्रिय मञ्चमा सहभागी हुने नेपाली फिल्ममेकरहरू पनि हुनुहुन्छ, तर थोरैमात्र । नेपालमै त्यस्तो अभ्यासचाहिँ कमै देखिन्छ ।’
यसका लागि राज्यले नै केही पहलकदमी लिनुपर्नेमा सुवर्णको जोड छ । उनीसँगै सहमत छन् अंकित पनि । उनको तर्क छ, ‘सर्ट फिल्मले अन्तराष्ट्रिय बजारमा नेपाली सिनेमालाई चिनाइरहेको छ । त्यसैले यसलाई बलियो बनाउनु भनेको समग्र सिनेमा क्षेत्र नै बलियो बन्नु हो । यसमा राज्यले ध्यान दिनुपर्छ ।’ उनको तर्कमा सुवर्ण पनि जोड दिँदै भन्छन्, ‘जसरी खेलकुदको क्षेत्रमा नेपालको राम्रो सम्भावना छ भनेर तर्क गरिन्छ, त्यही हाराहारीमा सर्ट फिल्मको पनि सम्भावना उत्तिकै छ । यसमा राज्य संवेदनशील बन्नुपर्छ ।’

Page 17
Page 18
प्रजातन्त्रपछि नेपाली सिनेमा

डिजिटल फड्को

- समर्पण श्री

भूषण दाहाल निर्देशित चलचित्र ‘कागबेनी र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ निर्माण एवं प्रदर्शनसँगै नेपाली चलचित्रले ‘डिजिटल यात्रा’मा नयाँ मोड लियो । सन् २००८ ताका निर्माण भएका ती चलचित्रमा प्रयोग भएको डिजिटल प्रविधिले नेपाली सिनेमा उद्योग थप व्यावसायिक र व्यवस्थित भएको चलचित्रकर्मीहरूको ठहर छ । डिजिटल प्रविधिको प्रयोगले सिनेमाको संख्यासँगै गुणस्तर पनि बढेको बताउँछन्, निर्देशक अशोक शर्मा । भन्छन्, ‘डिजिटल उपकरण आउनुअघि यहाँ वार्षिक २५/२६ वटामात्र सिनेमा बन्थे । तर, अहिले सयभन्दा धेरै बन्न थालेका छन् ।’
२५ वर्षको अन्तरमा सिनेमा निर्माणको प्राविधिक पाटोमा आकाश जमिनको फरक आएको निर्देशक दीपेन्द्र के खनालको अनुभव छ । ‘सिनेमामा संकटकाल लगाउन ठिक्क भएका बेला डिजिटल प्रविधिको प्रयोगले फिल्मको स्तरसँगै आशा पनि बढाइदियो’ दीपेन्द्रले भने ।
नेपाली सिनेमा निर्माणको सुरुवातदेखि डिजिटल यात्रा सुरु हुनुसम्मको अवधि निकै चुनौतीपूर्ण र कष्टकर थियो । डिजिटल प्रविधि सुरु हुनुअघि र पछिको समयलाई गहिरो अनुभव गरेका सिनेमाटोग्राफर दीपक बज्राचार्य भन्छन्, ‘पुरानो प्रविधिमा निर्देशक पूर्णरूपमा सिनेमाटोग्राफरको भर पर्नुपर्थ्यो, तर अहिले त्यस्तो छैन ।’

पुरानो प्रविधिमा सिनेमा
पुरानो प्रविधिमा सेल्युलोइड क्यामेरामार्फत नेगेटिभमा सिनेमा खिचिन्थे । सिनेमाटोग्राफर बज्राचार्यका अनुसार नेगेटिभमा खिचिएका फिल्मलाई सुरुमा एक्सपोज गर्नुपर्थ्यो । पछि डेभलप गरेर प्रिन्ट निकालिन्थ्यो । पहिलो पटक वर्क प्रिन्ट निस्कन्थ्यो । त्यसैको आधारमा सम्पादन गरिन्थ्यो । त्यसपछि मात्र थिएटरमा हेर्न लायकको फाइनल प्रिन्ट निकालिन्थ्यो ।
त्यो बेला फिल्म नबनेसम्म खिचेको सही आयो कि आएन भनेर थाहा हुँदैनथ्यो । ‘यहाँ भिडियो असिस्ट भएको मोनिटरमा हेर्न मिल्ने क्यामेरा थिएन । त्यहीँ भएर निर्देशक पूर्णरूपमा सिनेमाटोग्राफरमा भर पर्नुपर्ने हुन्थ्यो’, बज्राचार्य भन्छन् ।
सुरुमा ३५ एमएममा भिडियो खिचिन्थ्यो । पछि निर्देशकहरूले १६ एमएममा खिच्न थाले । आधा साइज हुने बित्तिकै बजेट पनि आधा घट्ने निर्माताहरूको अनुमान थियो । तर, यसले फिल्मको दृश्य झन् बिग्रिएर आउन थाल्यो । फिल्म निर्माण मात्र नभई प्रदर्शनमा पनि उत्तिकै कठिनाइ हुन्थ्यो । सबै हलमा एउटै फिल्म एकैपटक प्रदर्शन गर्न मिल्दैनथ्यो ।
निर्देशक शर्माका अनुसार फिल्मको प्रिन्ट बनाउनकै लागि १०/१२ लाख रुपैयाँ खर्च हुन्थ्यो । त्यतिबेला २/३ देखि बढीमा ५ सम्म सिनेमाको रिल प्रिन्ट बनाइन्थ्यो । त्यही रिललाई क्यारिङ गर्नुपर्थ्यो । काठमाडौंमा २ वटा रिल राखिन्थ्यो भने बाहिर २ वटा पठाइन्थ्यो । ‘एकैचोटि चलचित्र प्रदर्शन गर्न नपाउँदा समयमा लगानी उठ्दैनथ्यो’, शर्मा भन्छन्, ‘त्यतिबेला रिलबाट चक्का घुमाएर फिल्म देखाउने चलन थियो । रिल चुँडिने, कोरिने पनि समस्या हुन्थ्यो । हामी आफैं कम गुणस्तरमा फिल्म बनाइरहेका थियौं ।’
त्यतिबेला सिनेमाको ध्वनि पनि कर्णप्रिय र आकर्षक हुँदैनथ्यो । किनभने आवाज टेपमा रेकर्ड गरेर प्ले गरिन्थ्यो ।

क्यामेराले ल्याएको परिवर्तन
सन् २००८ सालतिर निर्देशक दीपेन्द्र के खनालले जापानबाट नेपाल आउँदा एचडी क्यामेरा ल्याएका थिए । त्यतिबेलासम्म नेपालमा फिल्म सेल्युलोइडमै बनाइन्थे । जब उनले पहिलो फिल्म डिजिटल एचडीमा बनाए, तब ठूलो चुनौतीको पनि सामना गर्नुपर्‍यो । उनीसँगै त्यस छिमलका नयाँ निर्देशकहरू डिजिटल प्रविधिकै कारण बहिष्कारमा परे । ‘मैले एचडी क्यामेराले खिचेको फिल्मलाई सानो फिल्म भनियो । सिनेमा बिगार्ने प्रविधि ल्यायो भनियो,’ उनले सम्झिए ।
नेपाली सिनेमाहरू लगातार घाटामा जान थालेपछि निर्देशक अशोक शर्मा पनि उपायको खोजीमा थिए । ‘विदेशी सिनेमाको अघि हाम्रो सिनेमाको अस्तित्व नै नरहने भयो । प्रविधिलाई परिवर्तन नगरिकन विकल्प छैन भन्ने भयो । त्यसपछि हामीले सन् २००८ तिर डिजिटल टेक्नोलोजीलाई भित्र्यायौं । तर, अन्य चलचित्रकर्मीहरूले स्वीकार गरेनन्,’ शर्मा सम्झन्छन् । त्यतिबेला सेल्युलोइडलाई डिजिटलले विस्थापित गर्न सक्दैन भन्ने आवाज पनि उठ्यो । प्रविधिका विषयमा ठूलै बहस भयो ।
निर्देशक खनालले उक्त बहसलाई नयाँ र पुरानो पुस्ताको द्वन्द्वका रूपमा लिए । ‘पुराना मेकर सेल्युलोइडमै फिल्म बनाउँथे । हामी डिजिटल प्रविधिको प्रयोग गर्न थाल्यौं’ उनी भन्छन्, ‘आपसी ईगोका कारण पनि द्वन्द्व बढेको थियो ।’
रिलमा खिच्दा जुन डेप्थ आउँछ त्यो डिजिटलमा आउँदैन भन्ने सेल्युलोइडमा काम गरिरहेका धेरैको मान्यता थियो । ‘यसमा केही सत्यता पनि थियो । किनभने, त्यो बेला डिजिटल प्रविधि पनि निर्माणकै क्रममा थियो,’ उनी भन्छन् ।
प्रविधिलाई डिजिटल बनाउनका लागि क्युएफएक्स सञ्चालक तथा फिल्म निर्माता नकिम उद्दिन, भाष्कर ढुंगाना, राजेश सिद्धीलगायतको भूमिका थियो । ‘फिल्म खिच्नदेखि हललाई समेत डिजिटलाइज्ड गर्न हामीले ठूलो मेहनत गरेका छौं । क्युएफएक्सको पहिलो मल्टिप्लेक्स पनि हामीले नै सञ्चालन गरेका हौं,’ सञ्चालक नकिम उद्दिन भन्छन् ।
रिलबाट हलमा फिल्म देखाइने झन्झटिलो प्रक्रियालाई नै उनीहरूले परिवर्तन गर्न खोजे । यसका लागि हलमा डिजिटल सिस्टम राखियो । निर्देशक शर्मामा अनुसार २/४ वटा हलमा सम्झाई बुझाई गरेर आधुनिक सिस्टम राखिएको थियो । तर, डिजिटल सिस्टममा देखाउने फिल्म नहुनाले झन् चुनौती थपियो । ‘सेल्युलोइडमा फिल्म बन्थ्यो । त्यसलाई डिजिटलमा कन्भर्ट गर्न कोही नमान्ने । अब प्रोडक्सननै डिजिटलमा गरेपछि मात्र डिजिटलमै बन्ने र डिजिटलमै देखाउने काम हुनसक्छ भनेर हामीले विदेशबाट क्यामेरालगायत उपकरण ल्यायौं,’ शर्मा भन्छन् । त्यसिबेलै डिसिएन कम्पनीमार्फत नेपालमा एसआई टुके नामक डिजिटल क्यामेरा भित्रिएको हो ।
डिजिटल क्यामेरामार्फत काम गर्न नचाहेका प्रोडुसरहरूलाई बुझाउनु कम्ता मुस्किल थिएन । ‘डिजिटलमा फिल्म बनाउनेलाई फिल्मको वितरण हामी गर्छौं र पैसा पनि दिन्छौं भनेर एउटा प्रोडुसरलाई ४० लाख एड्भान्स पनि दियौं । अनि बल्ल केही निर्माता तयार हुनुभयो,’ शर्मा सम्झन्छन् ।
त्यसलगत्तै बनेका दुई फिल्म ‘कागबेनी’ र ‘सानो संसार’ले नेपाली सिनेमाको प्राविधिक पाटोको गुणस्तरमा धेरै सुधार ल्याए । त्यसपछि भने नयाँ प्रविधिप्रति अन्य प्रोडुसरको पनि ध्यान खिचियो ।
‘लुट’, ‘चपली हाइट’जस्ता चलचित्र व्यावसायिक रूपमा सफल भइसकेपछि डिजिटल प्रविधिको प्रभाव बढ्दै गयो । संकटकाल लाग्नै आँटेको बेला डिजिटल प्रविधिमा बनेको फिल्मले उद्योगलाई चलायमान बनायो । ‘चारपाटे र किरमिर भिडियो हेरिरहेका दर्शकलाई सफा स्क्रिन देख्दा छुट्टै आनन्द आयो,’ दीपेन्द्र भन्छन् ।
त्यसलगत्तै नेपालमा रेडको ‘फो के’ क्यामेरा भित्रियो । त्यसपछि ‘सिक्स के’ आयो । पछिल्लो समय दीपेन्द्रले ‘आमा’ फिल्मको निर्माणमा एट–के क्यामेराको प्रयोग गरे । ‘अहिलेसम्म आउँदा नेपाली चलचित्र क्षेत्रमा क्यामेरा मात्र नभई लेन्स वा अरू धेरै राम्रा उपकरण हामीसँग छन् । मैसँग हलिउड बलिउडमा खिच्ने क्यामेराको हाइयन सेट छ,’ दीपेन्द्र भन्छन् ।
डिजिटल प्रविधिका कारण सिनेमा हलमा पनि निर्माताको लगानी कम हुँदै गयो । ‘१०/१२ लाख रुपैयाँ रिल प्रिन्टमै खर्च हुन्थ्यो । डिजिटल प्रविधिमा त प्रिन्ट खर्चै भएन । धेरै हलमा एकै पटक फिल्म चलाउन पनि सकिने अवस्था आयो,’ शर्मा भन्छन्, ‘रिलको कारण फिल्मको व्यापारलाई पनि असर गरेको थियो । अहिले २२ करोडसम्म फिल्मको व्यापार हुन्छ ।’
सिनेमाटोग्राफर बज्राचार्यका अनुसार सेल्युलाइड फर्म्याटमा खिचेको अन्तिम नेपाली चलचित्र ‘गुडबाइ काठमाडौं’ हो । अहिले विश्वमा नै सिनेमा मेकिङ डिजिटल प्रविधिबाट हुन्छ । तर, हलिउड, बलिउडमा केही निर्देशकले भने अझै नेगेटिभमा खिच्ने गरेको पाइन्छ ।

साउण्डमा कम सुधार
पहिले फिल्मको आवाज ‘मोनोमा’ प्ले हुन्थ्यो । जसकारण फिल्मको ध्वनि कर्कश सुनिन्थ्यो । तर, डिजिटल प्रविधि भित्रिएपछि ५.१ साउण्ड सिस्टममा अभ्यास हुन थाल्यो । विस्तारै टेप विस्थापित भयो । कम्प्युटरमै आवाज रेकर्ड हुन थाल्यो । सिनेमा क्षेत्रका क्रियाशील साउण्ड इन्जिनियर अमृत श्रेष्ठ ध्वनि कम्प्युटरको हार्डडिस्कमै रेकर्ड हुन थालेपछि काम गर्न सहज भएको बताउँछन् । ‘पहिला लामो लामो गीत एकैपटक गाउनुपर्ने हुन्थ्यो । अहिले टुक्रा गरेर गाउन मिल्छ । डबमा पनि मिक्सिङ गर्ने, आवाज डिजाइन गर्ने धेरै टेक्नोलोजी जोडिएको छ । अहिले ५.१ मा काम गरिरहेका छौं । यसले पनि राम्रोसंग मनोरञ्जन क्रियट गर्न सक्छ,’ उनी भन्छन् ।
यद्यपि, रेकर्डिङमा प्रशस्त काम हुन अझै बाँकी रहेको साउण्ड इन्जिनियर प्रदीपकुमार उपाध्यायको ठम्याइ छ । उनका अनुसार साउण्डसम्बन्धी प्राविधिक ज्ञानमा कमी छ । प्रोडुसर तथा फिल्ममेकरहरूले फिल्ममा साउण्डलाई पहिलो प्राथमिकतामा नराखेकै कारण सुधार हुन नसकेको उनको ठम्याइ छ । ‘फिल्म कला पक्षलाई मात्र ध्यान दिएर लेखिन्छ । प्राविधिक पक्षलाई ख्याल गरेर लेखिएको देखिन्न । तर, जब दुवै पक्षलाई ध्यान दिएर फिल्म लेखिन्छ तब राम्रो हुन्छ,’ उपाध्याय भन्छन् ।
निर्देशक खनाल पनि साउण्डको पक्षमा नेपाली सिनेमा कमजोर भएको स्वीकार गर्छन् । ‘बलिउड र कलिउडको साउण्डमा धेरै अन्तर छ’, नेपालको साउण्ड सुन्यौं भने धेरै नै फरक पाउँर्छौं । हाम्रो साउण्ड मौलिक हुन नसक्नुको पछाडि डिजाइनमा समस्या भएर हो,’ उनी भन्छन्, ‘साउण्ड डिजाइनमा आफ्नै मौलिक बाजा प्रयोग गरेर गर्नलाई समय चाहियो, प्राविधिक चाहियो । हाम्रोमा त्यो कुराको अभाव छ ।’
साउण्ड इन्जिनियर श्रेष्ठ यो पेसा प्रोफेसनल बन्न नसक्नु नै ठूलो समस्या भएको बताउँछन् । प्राविधिक पाटोलाई खासै प्राथमिकता नदिएको उनको अनुभव छ । भन्छन्, ‘फिल्म मेकिङमा प्राविधिकसँग छलफल नै हुँदैन’, उनी भन्छन्, ‘हाम्रोमा इस्पेसलाइजेसन कम छ । सबै काम आफैं गर्नुपर्छ । डिपार्टमेन्ट नै एक्लै हेर्नुपर्ने हुन्थ्यो । यसै कारण सिर्जनात्मक हुन सकेन ।’

चुनौतीपूर्ण डिजिटल यात्रा
सिनेमा उद्योगको २५ वर्षे यात्रामा प्रविधिले धेरै सहजता थपिदिएको निर्देशक मनोज पण्डितको बुझाइ छ । हिजोको समयमा सीमित वर्गको हातमा मात्र पुग्ने सिनेमा प्रविधि अहिले सामान्य व्यक्तिको हातमा पुगेको उनी बताउँछन् । ‘पहिले क्यामेरका लागि प्रकाशको धेरै आवश्यकता पर्थ्यो । प्राविधिकको टिम पनि ठूलो हुन्थ्यो । तत्कालीन अवस्थामा सामान्य मानिसमा पुग्दैनथ्यो’ पण्डित भन्छन्, ‘सिनेमा सीमित वर्गको रुचि र हातमा मात्र बन्थ्यो । त्यसले गर्दा वर्गहरूको रुचिसँगै नाफामूलक हुन्थ्यो । दक्षताको आधारमा मनोमानी हुन्थ्यो ।’
तर, समीक्षक अनुप सुवेदी प्रविधिको विकासले सिनेमाको गुणस्तर बढेको कुरामा स्वीकार गर्दैनन् । ‘नयाँ क्यामेरा र प्रविधि त आयो, तर त्यो प्रविधिलाई कति सिर्जनशील तरिकाले चलाएका छौं त?’ समीक्षक सुवेदी प्रश्न गर्छन् ।
उनी नेपाली सिनेमाको बजार बढेको स्वीकार गर्दैनन् । भन्छन्, ‘अझै तराईको ठूलो भागमा नेपाली सिनेमा चल्दैनन् । महेन्द्र राजमार्ग आसपास र काठमाडौंमा मात्र यसको बजार छ । प्रविधिले बजारमा खासै प्रभाव पारेन ।’
निर्देशक खनाल पनि अहिले पर्याप्त प्राविधिक समान भए पनि त्यसको परिणाम भने सन्तोषजनक नभएको स्वीकार गर्छन् । यसको पछाडि प्राविधिक पक्षमा नयाँ जनशक्ति नभित्रिनु नै समस्या रहेको उनको ठम्याइ छ । ‘निर्देशनको पाटोमा यसपालि ५० भन्दा बढी नयाँ निर्देशकले फिल्ममा डेब्यु गरे । निर्माता, कलाकार पनि आफैं निर्देशन गर्छु भनेर होमिरहेका छन् । तर, प्राविधिक पाटोमा सिनेमाटोग्राफर तथा एडिटर बन्छु भनेर कोही आउँदैन । नेपाली चलचित्रले प्राविधिक पाटोलाई जहिले पनि हेला गर्छ,’ खनालको बुझाई छ ।
नेपालमा भित्रिएको प्रविधिको पनि दुरुपयोग भएको सिनेमाटोग्राफर बज्राचार्यको ठम्याइ छ । ‘जब पहिलो पटक नेपाली फिल्ममा ड्रोन भित्रियो । हरेक फिल्ममा ड्रोनका दृश्य देखिन थाले । यति रिपिट भयो कि हेर्दा पनि दिक्क लाग्न थाल्यो,’ उनी भन्छन् । बज्राचार्यका अनुसार जति सुकै नयाँ सामग्री प्रयोग गरे पनि त्यसले दर्शकलाई तान्न सकेन भने त्यसको केही अर्थ हुँदैन ।

 

पहिलो पटक डिजिटल यात्रा थाल्यौं

नकिम उद्दिन

सन् २००२ जुलाइमा हामीले जय नेपाल हल सञ्चालन गर्‍यौं । राजेश सिद्धी, भाष्कर ढुंगाना र मलगायतका पार्टनर थियौं । एउटा हलले नपुग्ने भएपछि हामीले कुमारी हल भाडामा लियौं । त्यतिबेला थुप्रै नेपाली निर्माता नेपाली फिल्म हलमा चलाउनु पर्‍यो भनेर आउनुभयो । तर, त्यतिबेलाका नेपाली फिल्म हलमा चल्न लायकका थिएनन् । जय नेपालको टिकटको रेट १ सय ७५ थियो । १ सय ७५ तिरेर नेपाली फिल्म हेर्न आउनेको संख्या थिएन । हामीले धेरैलाई ‘नाइँ’ भन्यौं ।
नेपाली फिल्म नेपालका हलमा चल्न लायकको त बनाउनुपर्छ भन्ने लाग्यो । सुरुमा हामीले डिजिटल प्रविधिमै फिल्मलाई वितरण गर्ने तरिका खोज्यौं । पहिलोपटक टुके क्यामेरा ल्याएर ‘कागबेनी’ खिच्यौं । त्यसपछि लगत्तै फिल्म‘नयाँ संसार’ निर्माण गर्‍यौं ।
नेपाली सिनेमामा पहिलोपटक सबै डिजिटल प्रविधिको प्रयोग गरेको हामीले नै हो । त्यसपछि अरू निर्माता साथीलाई पनि डिजिटल प्रविधिमार्फत काम गर्न कन्भिन्स गर्न थाल्यौं । त्यसपछि ‘डिजिटल सिनेमा नेपाल’ भन्ने कम्पनी बनायौं । त्यसको नेतृत्व अशोक शर्माले गर्नुभयो । हामीले नै क्युएफएक्सको पहिलो मल्टिप्लेक्स सिभिल मलमा खोल्यौं । त्यसपछि ललितपुर विशाल बजारमा सिनेमा हल थपेर लविङ मल बनायौं । अहिलेसम्म नेपालमा १२ ठाउँमा पर्दासहितको क्युएफएक्सको संरचना निर्माण गरेका छौं ।

 

प्रविधि छ, गुणस्तर छैन 

अनुप सुवेदी

डिजिटल माध्यमले फिल्म मेकिङलाई प्राविधिक रूपमा सजिलो बनायो । जसले गर्दा फिल्म बनाउन संख्या पनि बढ्यो । पहिलाजस्तो प्रोसेसका लागि मुम्बई वा अन्य सहर जानुपर्ने अवस्था भएन ।
क्रमशः प्रोडक्सन मोडमा अलिकति परिवर्तन आएको देखियो । वर्षमा ३०/४० वटा फिल्म बन्दा भयानक उपलब्धि मानिन्थ्यो । अहिले १ सयवटा बनिरहेका छन् । यो संख्यात्मक रूपमा वृद्धि भएर धेरै जना प्राविधिकले काम पाउनु सुखद् कुरा हो । तर, बजार बढ्यो कि बढेन भन्ने कुरा कसरी हेर्ने भन्ने संकट छ । हामीसँग डाटा छैन । बजारको कमाइ हेर्दा अहिले पनि काठमाडौंको बजार ६० प्रतिशत हो । २०५० सालमा कति संख्याले हेर्थे र अहिले कतिले सिनेमा हेर्छन् भनेर हेर्ने हो भने बजारको स्थिति निराशाजनक देखिन्छ । तर, मूल्य बढेको र मल्टिप्लेक्समा उच्च मूल्यले गर्दा फिल्मको कमाइ सहरमा बढेको छ । गाउँगाउँमा भने घटेको छ ।
सारमा देशभित्र फिल्मको बजार बढेको छैन । तराईको ठूलो भागमा अहिले पनि नेपाली फिल्म चल्दैनन् । महेन्द्र हाइवेका सहरहरूमा मात्र चल्ने हो । बरु डायस्पोरा मार्केटले केही राहत भएको छ ।
क्यामेरा प्रविधि त आयो, तर त्यो प्रविधिलाई कति क्रियटिभ्ली चलाएका छौं ? प्रश्न उठ्छ । खासगरी प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति पनि छैनन् । जस्तै : प्रोडक्सन डिजाइन । सेट डिजाइन, कास्टिङ डिरेक्टर । यस्तो खालको कुरामा अझै पनि जनशक्ति छैन । साउण्ड डिजाइन पनि छैन । भएका पनि परम्परागत छन् । कन्टेन्ट पनि कमजोर छ । २५ वर्षको यात्रा भनेको हिँड्दैछ, पाइला मेट्दैछ भनेजस्तै हो । प्रभावकारी साउण्डका लागि नेपालमा गुणस्तर स्टुडियो पनि छैन । साउण्डलाई कसरी प्रयोग गर्ने भनेर डिजाइन गर्ने मान्छे नै छैन ।

Page 19
टिप्पणी

निडर महिलाहरू

सम्पदा मल्ल

२०२१ सालमा तत्कालीन राजा महेन्द्रले नेपालमै पहिलो नेपाली कथानक चलचित्र निर्माण गर्ने निर्णय लिए । चलचित्रको नाम राखियो, आमा । निर्देशनको जिम्मा दिइयो, हिरासिंह खत्रीलाई । कलाकार छनोटका लागि गोरखापत्रमा सूचना प्रकाशित गरियो । सूचना पढेपछि तत्कालीन समयमा नाट्य क्षेत्रमा रमाइरहेकी कलाकार भुवन चन्दले अडिसन दिइन् । उनी छनोट भइन् । र, उनी नै बनिन्, नेपाली चलचित्रकी पहिलो अभिनेत्री ।
त्यतिबेला महिलालाई कला क्षेत्रमा प्रवेश गर्न सजिलो थिएन । नाटकमा अभिनय गर्नेलाई ‘नौटंकी’ भनिन्थ्यो । अभिनय गर्ने महिलालाई हेयका दृष्टिले हेरिन्थ्यो । महिला कलाकारको अभावका कारण पुरुषले नै महिलाको भेषमा अभिनय गर्थे । अनेक चुनौतीबीच चन्दले नेपाली चलचित्रमा अभिनय गर्ने हिम्मत गर्नु चानचुने कुरा थिएन ।
अहिले अनेक आरोह–अवरोहबीच नेपाली सिनेमा उद्योगले करिब ५ दशक पार गरिसकेको छ । यो अवधिमा पर्दाभित्र र बाहिर निकै प्रतिभाशाली एवं निडर थुप्रै महिलाले सिने उद्योगमा प्रवेश गरिसकेका छन् । उनीहरूले आफ्नो कला एवं क्षमता प्रस्तुत गरिसकेका छन् । समग्रमा अहिले नेपाली चलचित्र क्षेत्रमा महिलाको उपस्थिति र प्रस्तुति गर्वलायक छ ।
अहिले हामी विश्वका सिनेमासँग तुलना गरेर नेपाली सिनेमाबारे निराशायुक्त कुरा गर्छौं । विश्व बजारका सिनेमासँग दाँज्दा नेपाली सिनेमा कमजोर लाग्छन् । यो सत्यले हामीलाई पीडा दिन्छ, हिनताबोध हुन्छ । नेपाली सिनेमाको विकासक्रम र यसका कठिनाइलाई नबुझी कलाकार तथा सर्जकको आलोचना गर्छौं । उनीहरूको हौसला बढाउन बिर्सन्छौं । नेपाली सिनेमामा गर्व गर्न लायक थुप्रै पक्ष छन् । त्योमध्येको एक हो, सिने क्षेत्रमा महिलाको उपस्थिति र प्रस्तुति ।
पछिल्लो समय नेपाली सिने क्षेत्रमा सशक्त भूमिका निर्वाह गरिरहेका थुप्रै ‘बोल्ड एन्ड ब्युटिफुल’ महिला कलाकारमध्येकी एक हुन्, केकी अधिकारी । नायिकाकै रूपमा रहेर ‘सेफ जोन’मा बस्न सक्ने उनले चलचित्र निर्माण गर्ने चुनौती मोलिन् । त्यस्तै उनले केही समयअघि सम्पन्न नेपाली कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्माताका रूपमा आफूलाई प्रस्तुत गरिन् । ‘निर्माताका रूपमा काम गर्दा सबैबाट हौसला पाएँ’ क्रमशः आफ्नो आकाशलाई फराकिलो बनाउँदै गएकी केकी भन्छिन्, ‘पछिल्लो समय सिनेमा क्षेत्रमा महिलाको उपस्थिति र सक्रियता पर्याप्त नभए पनि उत्साहजनक छ, यो खुसीको कुरा हो ।’
केकीसँगै नायिका नम्रता श्रेष्ठ, ऋचा शर्मालगायत महिला कलाकारले सिनेमा निर्माण गर्ने आँट गरिरहेका छन् । त्यस्तै नेपाली चलचित्र निर्माणमा शर्मिला पाण्डेले पुर्‍याएको योगदान उल्लेखनीय छ । उनी कहिले पुरुष निर्माता आँट नगरेको हरर फिल्म निर्माण गर्छिन् त आमआमाको भावना प्रतिनिधित्व हुने चलचित्र निर्माण गर्छिन् । ‘म नाफा कमाउनभन्दा पनि नयाँ स्वादको चलचित्र निर्माण गर्न रुचाउँछु’, उनी भन्छिन्, ‘आफूलाई कथाले छोएपछि चुनौती मोल्न डर लाग्दैन ।’
त्यस्तै हाईवै, सेतो सूर्यजस्ता अन्तर्राष्ट्रिय बजारमा तहल्का मच्चाउन सफल अर्की महिला निर्माता हुन्, आशा मगराती । प्रतिभाशाली मगरातीले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेकी छिन् । ‘दीपक रौनियार र मैले सिनेमामा सँगै काम गर्न थालेको कम्तीमा १२ वर्ष भयो,’ उनी भन्छिन्, ‘हामी आफ््नै कम्पनीबाट फिल्म बनाउँछौं । उनी निर्देशन गर्छन् । म अभिनय गर्छु । दुवै मिलेर फिल्म निर्माण गर्छौं ।’ सिने क्षेत्रकै कतिपयले पनि उनलाई श्रीमान्सँग जोडेर मात्रै हेर्छन् । जुन उनलाई मन पर्दैन । ‘अझै पनि चलचित्र बोर्डमा जाँदा श्रीमान्को मन्जुरी खोज्छन्,’ उनी भन्छिन्, ‘अझै पनि फिल्म सेटमा मलाई निर्देशककी श्रीमतीकै नजरबाट मात्रै हेर्छन् ।


चलचित्र ‘हाइवे’को सुटिङमा उनलाई प्रडक्सन म्यानेजरले ‘निर्देशकको श्रीमतीले बीचमा बोल्नु भएन’ भने । जुन कुरा उनलाई नमिठो लाग्यो । उनले दुखेसो पोखिन्, ‘नेपाली समाज अझै पनि महिलालाई पत्याउँदैन । हामीले पनि निर्णय गर्न सक्छौं । सिर्जना गर्न सक्छौ भन्ने कुरामा विश्वास गर्दैन । यो समस्या हाम्रो समाजका पुरुषहरूमा मात्रै होइन, महिलामा पनि छ ।’
२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’ निर्देशन गरेर सुचित्रा श्रेष्ठ नेपालको पहिलो महिला निर्देशक बनिन् । ‘मैले सिनेमा निर्देशन गर्दा आफैंलाई पनि थाहा थिएन कि म पहिलो महिला निर्देशक हुँ भनेर । पछि मिडियाले भनेपछि थाहा पाएँ’ चलचित्र निर्देशक समाजकी पूर्वअध्यक्ष सुचित्राले भनिन्, ‘महिला सिनेकर्मीको ठूलो चुनौती भनेको घर र कामलाई ब्यालेन्स गर्नु हो । अझै पनि लगानीकर्ताहरूले महिला निर्देशकलाई विश्वास गर्दैनन् ।’
आजकाल धेरै नेपाली निर्देशकले खोज्ने आर्ट डिरेक्टर हुन्, मेनुका राई । ‘कालोपोथी’, ‘सेतो सूर्य’, ‘लुट–२’ आदि सिनेमामा उनले आफ्नो कौशल देखाइसकेकी छिन् । ‘कतिपय फिल्म सेटमा महिला कलाकारबाहेक टेक्निसियनमा म मात्र महिला हुन्छु’ मेनुका भन्छिन्, ‘घर र कामको समय व्यवस्थापन गर्न कठिन हुँदा महिलालाई सिने क्षेत्रमा जम्न गाह्रो छ ।’ कठिनाइका बीच पनि आफ्नो कर्मप्रति उनी सन्तुष्ट छिन् ।
अहिलेसम्म एकजना मात्रै महिला निर्देशकले विश्वको सबैभन्दा ठूलो सिनेमासम्बन्धी पुरस्कार ओस्कारको पदक हात पारेको इतिहास छ । यसले नेपालमा मात्रै होइन, विश्वमै महिला सिनेकर्मी संघर्ष गरिरहेको प्रष्ट हुन्छ । अनेक अफ्ठेराका बाबजुद नेपाली सिने क्षेत्रमा महिलाको उपस्थिति दर्बिलो छ । दीपाश्री निरौला, झरना थापा, प्रियङ्का कार्कीलगायतले निर्देशक/निर्माता रूपमा निर्वाह गरेको भूमिका सराहनीय छ । यसले नेपाली सिने उद्योगमा महिलाको भविष्य उज्ज्वल भएको संकेत गर्छ ।
(मल्ल फिल्म लेखक हुन्)

Page 20
मानसिक स्वास्थ्य

पुरानो समस्या बल्झिँदै,नयाँ रोगी थपिँदै

- महेश तिमल्सिना
तस्बिरहरू :टरस्टक

लकडाउनकै समयमा मानसिक अस्पताल पाटनमा ५० वर्षीय एक पुरुष अनौठो समस्या लिएर पुगे । उनी पेशाले सवारी चालक हुन् । आर्थिक उपार्जन ठप्प साथै क्रियाशीलता नभएपछि एकनासको पट्यारलाग्दो अवस्थाबाट उनी दिक्क हुन थाले । मानसिक तनाव बढ्न थाल्यो । त्यो दिक्दारी र तनाव झेल्न उनले मदिराको सहायता लिन थाले । बिस्तारै मदिराको नशामा झन्पछि झन् पर्दै गएपछि उनी ‘अल्कोहल युज डिसअर्डर’ भन्ने मानसिक रोगको शिकार भए । उनलाई चिकित्सकले आवश्यक परामर्शका साथै केही औषधि दिएर उपचार गरिरहेका छन् ।
५० वर्षीया एक महिला लामो समयदेखि डिप्रेसनको समस्याबाट ग्रसित थिइन् । उनले डिप्रेसनको नियमित औषधि सेवन गर्दागर्दै पनि कोरोनाको त्रासले डिप्रेसनको लक्षण झन् बढ्दै गयो । बिस्तारै उनलाई कोरोनासँग सम्बन्धित रोगबाट मर्नुभन्दा आत्महत्या गरौं भन्ने भावना उत्पन्न हुन थाल्यो । साथै उनमा टाउको दुख्ने, नरमाइलो लाग्ने, जीवनप्रति वितृष्णा जाग्ने समस्या पनि बढिरहेको थियो । त्यसपछि उनलाई पाटनस्थित मानसिक अस्पताल लगियो । अस्पतालमा चिकित्सकले औषधिका साथै मनोपरामर्श दिएपछि उनको अवस्था अहिले सामान्य छ ।
दुई साताअघि काठमाडौंकी ४० वर्षीया सरकारी कर्मचारी महिलालाई शंका लाग्ने, मान्छेहरूले आफ्नो कुरा काटिरहेका छन्, मलाई मार्छन् भन्ने भावना आउने, मानिसदेखि डराउने, जसलाई भेटे पनि ‘मलाई नमार्नुस्’ भन्नेजस्ता मानसिक समस्या आएपछि उनलाई परिवारका सदस्यले बानेश्वरस्थित एक क्लिनिकमा लगे । त्यहाँ चिकित्सकले सबै कुरा जाँच गर्दा उनमा एक्युट साइकोसिस लक्षण देखिएपछि उनलाई अहिले औषधि उपचार सुरु गरिएको छ ।
काठमाडौंका ३६ वर्षीय युवकमा लकडाउनको समयमा घरमै बसिरहँदा कोरोना लाग्यो भने के गर्ने, आफूले गर्दै आएको काम के गर्ने होला भन्ने सोच्दासोच्दै एक्कासि डर लाग्ने, मुटुको धड्कन बढ्ने, आत्तिने समस्या देखियो । स्वास्थ्यमा थप समस्या देखिन थालेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगियो । उनले यसभन्दा अघि पनि एन्जाइटीको नियमित औषधि सेवन गरेका थिए । अस्पताल पुगेपछि थाहा भयो कि लकडाउनको समयमा घरभित्रै बसिरहँदा उनमा एन्जाइटी बल्झियो । त्यसपछि नर्भिक अस्पतालमा कार्यरत मनोचिकित्सक डा. जस्मिन माले उनलाई पहिलाको तुलनामा तत्कालका लागि केही औषधि बढाइदिइन् र मनोपरामर्श दिइन् । साथै घरमा व्यायाम गर्न, सकारात्मक सोंच्न र विश्वसनीय समाचारमात्र पढ्न सुझाव दिएर पठाइन् ।
कोभिड–१९ का कारण संसारभर नै मानिसहरूको सामाजिक र आर्थिक गतिविधिहरू यतिबेला ठप्प प्रायः छन् । नेपाल झन्डै दुई महिनादेखि लकडाउनमा छ । यस्तो अवस्थामा मानिसका दैनिक क्रियाकलाप, जीवनशैलीदेखि अर्थोपार्जनसम्मका गतिविधिहरूमा निकै ठूलो संकट परेको छ, जसले मानसिक समस्यालाई पनि झन् विकराल बनाउँदै लगेको माथिका घटनाक्रमहरूले देखाउँछ । लकडाउनकै कारण मानिसमा विभिन्न खालका मानसिक समस्या बढ्न थालेको चिकित्सकहरू बताउँछन् । लकडाउनका समयमा घरमै बसिरहँदा मानसिक रोगका नयाँ बिरामीका साथै पुरानै रोग बल्झिने समस्या लिएर अस्पताल आउनेहरू पनि उत्तिकै रहेको मनोचिकित्सकहरू बताउँछन् ।
लकडाउनले गृहिणीहरूको काम बढाएको छ । परिवारका सबै सदस्य घरमा बस्ने भएपछि खाना, खाजा बनाइरहनुपर्ने झन्झट बढेको छ । कतिपय गृहिणीलाई घर फोहोर भयो र छोराछोरीले भनेको काम मानेनन् भन्ने चिन्ताले पनि मानसिक समस्या बढाइरहेको चिकित्सकहरू बताउँछन् । यस्तै समस्या लिएर एकजना महिला लकडाउनकै समयमा नर्भिक अस्पताल आइन् । ४० वर्षीया ती महिलालाई पनि घरमा परिवारसँग बस्दाबस्दै रिस उठ्ने, छोराछोरीसँग कुरा नमिल्ने, घर फोहोर भयो भन्ने चिन्ता लाग्दो रहेछ । त्यही चिन्ताले उनको टाउको दुखाई दिन प्रतिदिन बढ्दै गयो । ती महिलालाई चिकित्सकले औषधि दिए साथै सकारात्मक सोंच्ने र परिवारका सदस्यसँग रिस उठेको समयमा रिस शान्त नहुन्जेलसम्म एकान्त ठाउँमा बस्न सुझाव दिएर पठाए ।
कोभिड–१९ को त्रासका बीचमा बाँकेकी एक महिलामा एकप्रकारको मानसिक समस्या उत्पन्न भयो । उनलाई कोरोना लागिसक्यो कि ? परिवारका सदस्यलाई सर्ने हो कि ? भन्ने मनमा शंका हुन्थ्यो । अनि चाहिनेभन्दा बढीपटक हात धुन थालिन् । हात धुदा पनि किटाणु गएनन् कि भनेर उनलाई थप मनमा छटपटि हुन थाल्यो । यस्तै समस्या दोहोरिन थालेपछि उनी भेरी प्रादेशिक अस्पतालमा पुगिन् । चिकित्सकले उनमा अबसिब कन्पल्सिपको लक्षण पुष्टि गरे । त्यसपछि उनलाई मनोचिकित्सक डा. सुमन अर्यालले परामर्शका साथै सामान्य औषधि दिएर पठाएका छन् ।
मानसिक समस्याले बालबालिका, वृद्धवृद्धादेखि युवायुवती सबैलाई असर पारेको देखिन्छ । लकडाउनले बालबालिकामा पनि मानसिक समस्या देखिन थालेको मनोचिकित्सक डा. अरुण कुँवर बताउँछन् । एक साताअघि कान्ति बाल अस्पतालमा कलंकीबाट आमाछोरा नै मानसिक समस्या लिएर आए । ३० वर्षीय आमा र ८ वर्षीय छोरामा कोरोना लागेर मरिन्छ भनेर रुने, आत्तिने, निन्द्रा नलाग्ने समस्या थियो । उनीहरूमा एक्युट स्ट्रेस डिसअर्डर भएको पत्ता लागेपछि उनीहरूलाई काउन्सिलका साथै निन्द्रा लाग्ने औषधि दिइएको डा. कुँवर बताउँछन् । यस्तै एक साताअघि बाँसबारीका १३ वर्षीय एक बालक कोरोना लाग्छ भनेर पटक–पटक हात धोइरहने समस्या लिएर आएका थिए । उनलाई पनि परामर्श दिएर पठाए । परामर्श पछि उनमा केही सुधार आएको छ ।


लगातारको लकडाउनका कारण बालबालिकादेखि वयस्क र वृद्धवृद्धालाई समेत मानसिक समस्या बढ्दैछन् भन्ने थाहा पाउन माथिका दृष्टान्त पर्याप्त छन् । अहिले मानिसहरू कोरोनाको त्रास र घरभित्रको बासले गर्दा मानसिक समस्या निम्तिएको चिकित्सकहरू बताउँछन् । यो समयमा नयाँ मानसिक रोगका बिरामी थपिनुका साथै पुराना जसले मानसिक रोगको नियमित औषधि सेवन गरिरहेका छन् उनीहरूलाई पनि मानसिक समस्या बल्झिन थालेको भेरी प्रादेशिक अस्पतालका मनोचिकित्सक डा.सुमन अर्याल बताउँछन् । ‘अहिलेको माहोलले गर्दा मानिसहरूमा एक खालको त्रास छ,’ उनी भन्छन्, ‘यो बेला कोरोनाको त्रासका कारण मानसिक रोग बल्झिरहेका छन् ।’ यतिमात्रै होइन्, सुरु गरेको उद्यम, थपिएको ऋण, स्कुलले ताकेता बालबच्चाको शुल्क, घरभाडा मात्रै होइन्, मध्य र निम्नवर्गको उच्च जनसंख्या रहेको नेपालमा दैनिकी जीवनयापनकै कठिनाइले पनि मानिसहरूलाई मानसिक समस्यातर्फ धकेलिरहेको देखिन्छ ।

कस्ता समस्या देखिँदैछन् ?
घरभित्रै बसिरहँदा मानिसहरूमा विभिन्न खाले मानसिक रोग देखिन थालेका छन् । यो बेलामा विशेषगरी निन्द्रा नलाग्ने, डर लाग्ने, भोक नलाग्ने, खुसी नहुने, मनमा नकारात्मक विचार आउने, अनौठा विचार आउने, निराशापन, खानामा रुचि नहुने, हातखुट्टा झमझम गर्ने, श्वास–प्रश्वास बढ्ने, एउटै कुरा मनमा दोहोरिरहने, कमजोर महसुस गर्ने, आत्महत्या गर्ने विचार आउने जस्ता लक्षण देखिन्छन् ।
कतिपयले आफूमा मानसिक समस्या देखिएपछि चिकित्सकको सम्पर्कमा आउँछन् भने धेरैजसोलाई टेलिफोनबाट पनि परामर्श दिइरहेको मनोचिकित्सक अनन्त अधिकारी बताउँछन् । ‘कोरोना भाइरसले निम्त्याउने कोभिड–१९ भन्ने रोग लाग्ला कि वा लागिसक्यो कि भन्ने भय वा त्राससँग सम्बन्धित एन्जाइटी डिसअडरका बिरामीहरूको वृद्धि भएको छ,’ उनी भन्छन्, ‘यस्ता बिरामीलाई अस्पतालमा उपचार गर्ने र टेलिफोनबाट पनि परामर्श दिइरहेका छौं ।’

महामारीपछि मानसिक समस्या भयावह हुने
सन् २००३ मा सार्सको महामारी फैलिएका देशहरूमा महामारी अन्त्य भइसकेपछि मानसिक समस्याले विकराल रूप लिएको थियो । जुनबेला क्यानाडामा कम्तीमा १० दिनसम्म क्वारेन्टाइनमा बसेका १५ हजार व्यक्तिहरूमा गरिएको एक अध्ययनले करिब ३१ प्रतिशतमा डिप्रेसन, २० प्रतिशतमा एन्जाइटी र २९ प्रतिशतलाई आघातजन्य मानसिक समस्या अर्थात पीटीएसडी भएको पाइएको थियो । क्यानाडाका विशेषज्ञ चिकित्सक र अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनमा मद्यपान, धूमपान र आत्महत्या पनि बढेको पाइएको थियो ।
त्यसैले कोभिड–१९ को महामारी सकिए पनि विश्वमा मानसिक रोगको समस्या बढ्न सक्ने अध्ययनहरूले देखाउँछन् । यतिबेला कोभिड–१९ को त्रासले गर्दा नेपालमा विभिन्न मानसिक समस्या देखिने र बल्झिने भइरहेको छ । ‘धेरैजसो मानिसले आफूमा मानसिक समस्या छ भन्ने बुझ्दैनन्,’ डा. जस्मिन भन्छिन्, ‘मानिसले आफूमा भएको समस्याका बारेमा अनविज्ञ भएपछि यसले जटिल रूप लिनसक्छ र यस्तै अवस्था रहिरह्यो भने भोलिका दिनमा विश्वमा मानसिक स्वास्थ्य समस्याका बिरामीहरू ह्वात्तै बढ्न सक्छन् ।’
त्यसैले महामारीको अवस्थामा जोसुकै मानिसले पनि आफूमा भएको समस्या आफ्ना परिवारका सदस्य, साथीभाइलाई खुलेर भन्नुपर्ने मनोचिकित्सकहरू बताउँछन् । साथै, राज्यले पनि भविष्यमा उत्पन्न हुन सक्ने महामारीको रोकथामका लागि अहिलेदेखि नै नीतिगत ढंगले अघि बढ्नुपर्ने त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक सगुनबल्लभ पन्त बताउँछन् । ‘महामारीका बेला फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी बढी जोखिममा हुन्छन्,’ उनी भन्छन्, ‘त्यसैले यस्ता व्यक्तिहरूमा भविष्यमा मानसिक समस्या नदेखियोस् भन्नका लागि राज्य अहिले नै सचेत हुन जरुरी छ ।’

स्वास्थ्यकर्मीमै मानसिक समस्या
महामारी फैलिएको अवस्थामा फ्रन्टलाइनमा रहेर उपचारमा खटिने स्वास्थ्यकर्मीहरूमा पनि मानसिक समस्या हुने गरेको अध्ययनले देखाएको छ । हालै कोरोना भाइरसको महामारीकै समयमा चीनमा गरिएको एक अध्ययनले पनि स्वास्थ्यकर्मीमा मानसिक समस्या बढ्ने देखाउँछ । चीनमा कोभिड–१९ को उपचारमा संलग्न ३४ अस्पतालका १ हजार २ सय ५७ स्वास्थ्यकर्मीमा गरिएको अध्ययनमा ५० प्रतिशतलाई डिप्रेसन, ४४ प्रतिशतलाई एन्जाइटी र ३४ प्रतिशतलाई निन्द्राको समस्या देखिएको छ । यस्तै चीनमै ५ हजार ६२ जना कोभिड–१९ संक्रमितको उपचारमा खटिएका चिकित्सकमा गरिएको अर्को अध्ययनले पनि १३.५ प्रतिशतमा डिप्रेसन र २४ प्रतिशतमा एन्जाइटी भएको पाइएको छ ।
यो संख्या महामारी अन्त्य भइसकेपछि पनि बढ्ने अनुमान गरिएको छ । किनभने २००३ मा फैलिएको सार्स महामारीको अन्त्य भइसकेपछि सार्स संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्महरूमा गरिएको एक अध्ययनका अनुसार महामारीपश्चात् १० प्रतिशत स्वास्थ्यकर्मीमा आघातजन्य मानसिक समस्या देखा परेको थियो । सार्स महामारी सकिएको तीन वर्षपछि ताइवानमा गरिएको अध्ययनमा क्वारेन्टाइन र जोखिम भएको ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीहरूमा रक्सीजन्य पदार्थको प्रयोग बढी देखियो भने २० प्रतिशतमा डिप्रेसन भएको पाइएको थियो ।

बालबालिकालाई यसरी जोगाऔं

डा. अरुण कुँवर, मनोचिकित्सक

  • बालबालिकाका कुरा अभिभावकले सुनिदिने ।
  • बालबालिका निन्द्राको कमी, डरले पटक–पटक हात धोइरहने, आत्तिने समस्या देखियो भने चिकित्सकसँग परामर्श लिने । 
  •  बालबालिकालाई नियमित व्यायाम, ध्यान गर्न लगाउने ।
  • सिर्जनात्मक कामहरू गर्न प्रेरित गर्ने ।
  • मोबाइल, ल्यापटप, टेलिभिजनको अत्याधिक प्रयोग गर्न नदिने 
  • यस्तो बेलामा दैनिक एक/दुई घन्टा पढ्न लगाउने ।
  • मोबाइल इन्टरनेटमा भन्दा पनि लुडो, चेस खेल्न उत्प्रेरित गर्ने ।
  • कोरोनाका नकारात्मक समाचार बालबच्चालाई नसुनाउने ।
Page 21
मानसिक स्वास्थ्य

समस्या कसरी थाहा पाउने ?

- साप्ताहिक संवाददाता

डा. सगुनबल्लभ पन्त, मनोचिकित्सक, त्रिवि शिक्षण अस्पताल 

महामारीको अवस्थामा जोसुकैलाई पनि मानसिक समस्या देखा पर्न सक्छ । तर, मानसिक समस्या भएका मानिसले आफूमा भएको समस्याका बारेमा नखुल्दा त्यसले भविष्यमा ठूलो समस्या पनि निम्त्याउन सक्ने मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् । यस्तो बेलामा धेरैजसोलाई विशेषगरी डिप्रेसन, एन्जाइटी, साइकोसी अर्थात कडा खालको मानसिक रोग, लागूपदार्थ दुर्व्यसनी जस्ता समस्या देखापर्न सक्छन् । त्यसैले आफ्ना परिवारका सदस्य, साथीभाइ, आफन्तमा भएको मानसिक समस्या कसरी थाहा पाउने त ? तल दिइएका लक्षणका आधारमा मानसिक समस्या भएको पत्ता लगाउन सकिन्छ ।

डिप्रेसनका लक्षण

  • दिक्क लाग्ने
  • शरीरमा जोस जाँगर हराउने
  • निन्द्रामा समस्या आउने
  • यौन इच्छामा कमी हुने
  • आत्महत्यासम्बन्धी धारणा आउने
  •  एकान्तमा बस्न रुचाउने
  • रमझम गर्ने व्यवहारमा कमी आउने
  • परिवारप्रतिको माया प्रेममा कम भएको देख्ने
  • पारिवारिक वार्तालाभमा कमी आउने
  •  इष्टमित्र साथीभाइसँग घुलमिलमा कमी आउने
  • रक्सीजन्य तथा सुर्तीजन्य पदार्थको अत्याधिक सेवन गर्ने

एन्जाइटी

  •  बिना कारण डर लागेको अथवा छटपटिएको अनुभव हुने
  •  मनमा अत्याधिक कुरा खेलाएर केही सोचिरहेको जस्तो देखिने
  • नकारात्मक सोंच हाबी भएको देखिने
  •  भविष्यको चिन्ता लिने
  •  कुनै पनि रोगको बारेमा चिन्तित हुने
  •  चाहिनेभन्दा बढी समय हात धोइरहने, नुहाउने जस्ता लक्षण देखापर्न सक्छ ।

कडा खालको मानसिक रोग अर्थात साइकोसिस

  • एक्लै बोल्ने
  • बरबराउने
  •  व्यवहारमा अस्वाभाविक परिवर्तन देखिने जस्तैः कहिले आक्रामक हुने कहिले टोलाएर बस्ने
  •  भ्रम भ्रान्तिको अनुभव गर्ने, जुन सत्यतथ्यसँग मेल खाँदैन
  • कानमा बिनाकारण आवाज सुनेजस्तो हुने
  • हाउभाउ र लवाइखवाइमा अस्वाभाविक परिवर्तन आउने ।
  • लागूपदार्थको बढी प्रयोग अथवा लागूपदार्थ सेवन गर्न नपाएको अवस्थामा छोप्ने बरबराउने, बेहोस हुने लक्षण आउन सक्छ ।

शारीरिक लक्षण

  • मुटु ढुकढुक हुने
  • श्वास–प्रश्वासमा समस्या हुने ।
  • घाटीमा केही अड्किएको जस्तो अनुभव हुने
  • हातखुट्टा झमझमाउने
  • झुम्म हुने, झोक्राउने
  • हातखुट्टा चिसो हुने
  • डरलाई कम गर्न लागूपदार्थ सेवन गर्ने
  • थकान अनुभव हुने
  • टाउको दुख्ने
मानसिक स्वास्थ्य

कसरी बच्ने ?

- साप्ताहिक संवाददाता

डा. अनन्त अधिकारी ,मनोचिकित्सक मानसिक अस्पताल, पाटन 

 

  • छानिएका र विश्वसनीय समाचारहरूमात्र पढ्ने र सुन्ने 
  • फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग कम गर्ने 
  • स्वास्थ्य मन्त्रालयलगायतका आधिकारिक संस्थाले सिकाएबमोजिम सामाजिक दूरी कायम गर्ने, हात धुने, मास्कको प्रयोग गर्ने तर कुनै पनि कुरा चाहिनेभन्दा बढी नगर्ने
  • तनाव कम गर्नका लागि गीत सुन्ने, व्यायाम गर्ने, योग ध्यान गर्ने 
  • आफन्त, साथीभाइको सम्पर्कमा रहने, मनको कुरा, तनाव, कुण्ठा सेयर गर्ने, मन हल्का बनाउने 
  • नियमित सेवन गरिरहेका औषधि निरन्तर सेवन गरिरहने । 
  • जाँड–रक्सीलगायतका लागूपदार्थबाट टाढा रहने । 
  • आफ्नो आत्मबल कायम राख्ने 
  • लकडाउनको समयमा घरमै गर्न सकिने कामहरूमा आफूलाई व्यस्त राख्ने । 
  • आफूलाई अप्ठेरो महसुस भएमा, ज्यादै डर त्रास लाग्न थालेमा शंका लाग्ने, निराशाले सताउने, निन्द्रा वा भोकमा समस्या आउने, व्यवहार तथा भावनामा बिचलन आएमा वा परिवारको सदस्यमा कुनै यस्ता लक्षण देखिएमा तुरुन्त मनोरोग विशेषज्ञको सल्लाह लिने अथवा उपचारको पहुँचमा बस्ने । 
  • हरदम मनमा यो कुरा राख्ने कि, कुनै पनि समस्या दीर्घकालीन रूपमा रहनेवाला छैन । आज हामीले भोगेका समस्या पनि एक दिन पक्कै समाप्त भएर जाने छ ।
Page 22
स्वास्थ्य स्याहार

बाङ्गोपनको समाधान

- डा. राजेन्द्र भद्रा

म हाल १९ वर्षको भएँ । मेरो लिंग बाहिरतिर बाङ्गिएको छ । सीधा पार्न के गर्नुपर्ला ? मैले हस्तमैथुन गर्न लागेको ९–१० वर्ष भयो । यसले कुनै नकारात्मक असर त पार्दैन ?
के. चौधरी

 

सन्तान उत्पादनका लागि वीर्य महिलाको योनिमा राख्नु तथा ‘यौन’ आनन्द दिनु लिंगको मुख्य कार्य हो । लिंग मुख्यतया तीनवटा स्पन्ज जस्तो संरचनाले बनेको हुन्छ । लिंगको माथिल्लो भागमा दुइटा ऋयचउगक ऋबखभचलयकब (कर्पस क्याभरनोसा) भनिने भाग हुन्छन् भने तल तिर ऋयचउगक क्ऊयलनष्यकग (कर्पस स्पञ्जिओसम) । लिंग उत्तेजित हुँदा यिनै संरचनाहरूमा रगत भरिन्छ र लिंग लामो, मोटो र कडा हुन्छ ।

के लिंग एकदमै सीधा हुन्छ ?
उत्तेजित नभएको बेलामा लचिलो अंगका रूपमा रहने हुनाले बाङ्गोपनको खास आभास नहुने भए पनि उत्तेजित हुँदा यो बाङ्गोपन वा लिंग केही घुमाउरो परेको जस्तो स्पष्ट रूपमा देख्न सकिन्छ । लिंगको बाङ्गोपनको कुन आधार वा अर्थमा बाङ्गो ठान्नु भएको हो तथा कसरी आफ्नो लिंग सामान्यभन्दा बाङ्गो भएको थाहा पाउनुभयो भन्ने कुरा खुल्नु आवश्यक छ । को वा केसँग तुलना गर्नु भएर तपाईंले बाङ्गो ठान्नु भएको हो सो कुराको पनि विचार गर्नुपर्ने हुन्छ ।
व्यक्ति–व्यक्तिअनुसार लिंगको नाप र आकारमा धेरै भिन्नता हुन्छ र यो लिंगको विकासको क्रममै हुने कुरा हुन् । हाम्रो शरीरको पनि दायाँ–बायाँ ठ्याक्कै बराबर हुँदैन, केही फरक हुन्छ । शरीरको बीचमा परेका भए पनि शरीरको विकासको क्रममा यी प्रभाव लिंगमा पनि देखिन्छ । उत्तेजित अवस्थामा एकदम सीधा नभई लिंग आफैंमा केही मात्रामा टेढो (बाङ्गो) हुन्छ । यो सामान्य कुरा नै हो । यस्तो बाङ्गोपन दायाँ–बायाँ, माथि वा तल जता पनि हुनसक्छ । यस्तै ३० डिग्रीसम्मको घुमाउरो वा बाङ्गोपनलाई सामान्य मानिन्छ भने ४५ डिग्रीभन्दा बढीको नभएसम्म बिरलै मात्र उपचारको आवश्यकता पर्ने ठानिन्छ । कतिपयले लिंग उत्तेजित हुने कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन् । कतिपयले लिंग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर (उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन् । तर, कुरा त्यसो पनि होइन । लिंग उत्तेजित हुँदा केही छड्के भएको हुनसक्छ । लिंगको ऋयचउगक ऋबखभचलयकब भन्ने भाग जघनास्थी (एगदष्अ द्ययलभ)सम्म जोडिएको हुन्छ । यसैले नै उत्तेजित लिंगको कोणलाई निर्धारित गर्छ ।

के यौन सन्तुष्टि दिन सकिएला ?
पुरुषलाई निकै चिन्ता हुने भए पनि हल्का किसिमको लिंगको बाङ्गोपनले यौनसम्पर्कलाई कुनै किसिमको वाधा पुर्‍याउँदैन र यौनसुख लिन तथा दिन दुवै सकिन्छ । त्यसैले यसबारे अनावश्यक रूपमा पिर गर्नु आवश्यक छैन । कतिले त यस किसिमको हल्का बाङ्गोपनको कारणले योनिमा घर्षण राम्रै हुने भएको हुनाले झनै यौन आनन्द आउने कुरा पनि गरेका छन् । अर्को कुरा एकदम महत्वपूर्ण कुरा छ । तपाईंलाई थाहै होला कि महिलाको प्रमुख यौन संवेदनशील अंग अर्थात भगाङ्कुर हो । र, यो भगाङ्कुर वास्तवमा योनि भित्रतिर नभई भगक्षेत्रको बाहिरतिर नै हुन्छ । यसको घर्षण गरेर यौन आनन्द प्रदान गर्न लिंगको आवश्यकता नै पर्दैन । अब त कुरा पक्कै नै बुझ्नु भयो होला कि हल्का किसिमको बाङ्गोपनको कारणले भविष्यमा विवाह गर्नबाट तर्सनु पर्ने कुनै कारण छैन ।

धेरै नै लिंग बाङ्गो भएमा समाधान के हुनसक्छ ?
हल्का किसिमको बाङ्गोपन सामान्य नै भएकोले खासै पिर गर्नु नपरे पनि गम्भीर प्रकृतिको लिंगको बाङ्गोपनमा उपचार गर्नुपर्ने हुन्छ । यस्तो केहीमा जन्मजात हुन्छन् । मुत्रनलीको विकासमा गडबडी भएर टेढोपन भएको (ज्थउयकउबमष्बक– हाइपोस्पाडियस) स्थितिमा लिंग तलतिर बाङ्गो हुन्छ । यदि लिंग निश्चित (स्थायी) रूपमा बाङ्गो भएको अवस्थालाई ऋजयचमभभ (कर्डी) भन्ने गर्छौं । मुत्रद्वारको गम्भीर संक्रमण पनि लिंगको बाङ्गोपनको कारण हुनसक्छ । एभथचयलष्भुक म्ष्कभबकभ (पाइरोनिज डिजिज)मा सामान्य लिंग अकस्मात निकै नै बाङ्गो हुन गई यौनसम्पर्क गर्न नसक्ने हुन जान्छ र दुख्छ पनि ।

हस्तमैथुनले के असर पार्ला ?
आफैंले यौनाङ्ग चलाउने वा दबाउने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने यौन क्रियाकलाप नै हस्तमैथुन हो । यौन आनन्द पाउने उपायहरू मध्ये यौन अंगको घर्षण प्रमुख हो । सिद्वान्ततः संभोग गर्दा र हस्तमैथुन गर्दा यौन अंगको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया तथा मानव यौन प्रतिक्रिया चक्र उस्तै नै हो । त्यसैले संभोग गर्दा हानी नहुने र हस्तमैथुन गर्दा हानी हुने भन्न त मिल्दैन । त्यसैले हस्तमैथुनलाई समस्या भन्न मिल्ने कुरै भएन । त्यसैले हस्तमैथुन गर्नुलाई समस्याका रूपमा लिनु मनासिब होइन किनभने यो एक स्वाभाविक प्रक्रिया हो ।
हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुने, स्मरण शक्ति ह्रास हुने, शारीरिक कमजोरी हुने जस्ता भ्रमहरू व्याप्त छन् । यसले लिंगको बाङ्गो पनि गराउँदैन । तपाईं स्पष्ट हुनुभए हुन्छ सामान्य अवस्थामा हस्तमैथुनले कुनै हानी गर्दैन ।
बरु यसका फाइदा पो छन् त । यसले यौनाच्छाको दमनबाट हुने तनावबाट मुक्तिका साथै अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समय दुरुपयोगबाट पनि बचाउँछ । एचआईभी वा अन्य यौन संक्रमणहरू पनि सर्दैन । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनतावोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ ।

राशिफल

यो साताको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मेष
स्वास्थ्यमा आएको समस्याले मनमा नैराश्यता आउनेछ । योग ध्यान गर्न सके सहजै उन्मुक्ति मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा आकर्षित हुँदा सोच विचार गरी लगानी गर्दा आफ्नो हितमा हुनेछ । साताको अन्त्यमा कामको सही मूल्यांकन हुनुका साथै केही धन लाभ हुनसक्छ ।


वृष
नजिकबाट घुलमिल हुन चाहनेसँग सामाजिक दूरी कायम राख्न सके दुवैको कल्याण हुनेछ । शारीरिक कमजोरी तथा आलस्यता महसुस हुनसक्छ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ । विगतदेखि रोकिएका कार्य सम्पन्न गर्दा आफ्नै हित हुनेछ ।


मिथुन
साता सामान्य रहनेछ । परिस्थिति अनुरूप गरिएका कामले प्रतिष्ठा दिलाउनेछ । प्रतिकूल अवस्थामा अरूको मुख ताक्दा पछि परिने सम्भावना छ । मित्रवर्गले वचनअनुसार समयमा सहयोग नगर्दा आर्थिक संकट बेहोर्नु पर्नेछ । व्यावसायिक कारोबार गर्दा सावधानी अपनाउनु होला ।

कर्कट
परिणाममुखी कार्य सम्पन्न गर्न केही ढिलाइ हुनसक्छ हेक्का राखे सफलता हात लाग्नेछ । करियर बनाउन दैनिकीमा परिवर्तनको जरुरत पर्नेछ । योग तथा ध्यान गर्न सके स्फुर्ति पैदा भई मन हलुका हुनेछ । यो साता यात्रा नगर्दा नै उपयुक्त होला ।

सिंह
सुनौलो रंग अवलम्बन गरी शारीरिक व्यायाममा जोड दिँदा फलिफाप हुनेछ । सरोकार नभएको विषयमा चासो नराख्दा नै वेश होला । आफ्नो योजना परिणाममुखी बनाउन कठिन परिश्रम गर्नुपर्नेछ । साताको अन्त्यमा मनोरञ्जनतर्फ आकर्षित भइनेछ ।

कन्या
नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ । इस्ट–मित्रबाट प्राप्त सुझावले भलाई गर्नेछ । पैत्रिक सम्पत्तिको अनावश्यक उपयोग नगर्दा नै आफ्नो कल्याण हुनेछ । टाढा भएका मित्रहरूले दिएको सुझावले फाइदा नै पुर्‍याउनेछ । साताको अन्त्यमा शारीरिक दुर्वलता देखा पर्न सक्छ ।


तुला
कार्य क्षमतामा स–साना त्रुटिहरूले मर्यादामा आँच पुर्‍याउन सक्छन् । कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनु नै उत्तम हुनेछ । परिस्थिति अनुरूप चल्न नसक्दा प्राप्त अवसर अन्यत्र जान सक्छ । समसामयिक अवस्था अनुरूप विश्वास पात्रलाई आर्थिक सहयोगको वचन दिँदा समस्यामा परिएला ।


वृश्चिक
पुरुषार्थद्वारा गरिएका सेवाले उचाइमा पुर्‍याउनेछ । अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि आफ्नो दृढताले पराजय सामना गर्नुपर्ने छैन । आर्थिक प्रलोभन देखाउनेहरूबाट टाडा रहँदा नै आफ्नो प्रतिष्ठा उचाइमा पुग्नेछ । साताको अन्त्यमा स्वास्थप्रति सजकता अपनाउनुहोला ।


धनु
अभिभावकसँग विचार नमिल्दा सामान्य खटपट हुनसक्छ । मित्रवर्गहरूप्रति ससाना त्रुटिहरूलाई औंल्याउँदैमा टाडिन सक्ने सम्भावना छ । राज्यस्तरबाट महत्वपूर्ण अवसरहरू प्राप्त हुनेछ । योग तथा ध्यानले दुर्भावनाहरू समाप्ति हुँदै भावि मार्ग पहिल्याउन सहज हुनेछ ।

मकर
विविध छटपटिकाबीच सुस्त तवरले उन्नतिको मार्ग प्रशस्त हुनेछ । स्वदेशमै विविध नयाँ क्षेत्रमा लगानी गरी थप आम्दानीको मार्ग पहिल्याउन साथीहरूबीच मत मिल्नेछ । सोचेका योजनाहरू आंशिक रूपमा पूर्ण हुनेछन् । शनि देवको सेवाले प्रायः समस्याबाट सहजै उन्मुक्ति मिल्नछ ।


कुम्भ
सम्पन्न हुन लागेको कार्यमा पारिवारिक खिचातानीले रोकावट आउन सक्छ । विशेष व्यक्तिले दिएका सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । परिस्थितिलाई बेवास्ता गर्नाले व्यावहारिक झमेला आइलाग्न सक्छ । असहज परिस्थितिबाट उम्कन सोचेभन्दा बढी मेहनत गर्नुपर्नेछ ।


मीन
आफ्ना कमजोरीप्रति गुनासो बढ्न सक्छ । आफ्नो कमजोरीबाट फाइदा उठाउनेहरू सलबलाउन सक्छन् । साताको अन्त्यमा झन्झटिला कार्यहरूको बोझ आइलागे तापनि परिश्रम अनुरूप सोचेको फल पाइनेछ । पहेंलो रंग प्रयोग गर्न सके थप फाइदा पुग्नेछ ।

Page 23
खेलकुद

क्रिकेट प्रशिक्षकको भ्याकेन्सी

- हिमेशरत्न बज्राचार्य

क्रिकेटमा पनि प्रशिक्षक चाहिन्छ ? यस्तो भन्ने पनि नभएका होइनन्, तर यो त पुरातन सोच भयो । खेलाडीलाई सुरुआती दिनमा प्रशिक्षक चाहिन्छ नै, तर परिपक्व खेलाडीले भरिएको टिमलाई प्रशिक्षक चाहिन्न भन्ने पनि उत्तिकै छन् । अहिलेको भारतीय क्रिकेट टिमलाई खासमा प्रशिक्षक नै चाहिन्न भनेर पनि केही खेल पण्डितले नभनेका र नलेखेका होइनन् । क्रिकेटलाई आधुनिक युगमा प्रवेश भइसकेको मान्ने हो भने प्रशिक्षक अनिवार्य नै हो ।
ट्वान्टी–२० क्रिकेटको विकास र लोकप्रियताका कारण क्रिकेटमा प्रशिक्षकको माग ह्वात्तै बढेको छ । अझ क्रिकेटमा पनि प्रशिक्षक थरी–थरीका हुन थालेका छन् । एक जना मुख्य प्रशिक्षक हुने भइहाल्यो, त्यसपछि उनका अनेक थरीका प्रशिक्षक । जस्तो ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षक । त्यसमा पनि विविधीकरण आइसकेको छ । जस्तो, बलर प्रशिक्षकमै पनि नयाँ विधा थपिएको छ, जस्तो अन्तिम ओभरतिर मात्र कसरी बलिङ गर्ने भनेर सिकाउने र योजना बनाउने प्रशिक्षक ।
नेपाली क्रिकेटमा शक्ति गौचनले लामो समय बिताए, अझै उनी प्रशिक्षकका रूपमा सक्रिय छन् । उनलाई उम्दा प्रशिक्षक मानिन्छ र उनले नै आफ्नो रेखदेखमा ठूलो सम्भावना बोकेका केही खेलाडी जन्माइसकेका छन् । खेलाडीका रूपमा शक्तिले दुई दशकजति नेपाली क्रिकेटमा बिताए, उमेर समूहको खेलदेखि राष्ट्रिय टिमसम्म । नेपालका लागि एक वान डे खेलिसकेपछि उनले तुरुन्तै सन्यासको घोषणा गरे, जुन एक प्रकारले अपेक्षित थियो ।


उनले नै प्रशिक्षकलाई लिएर एउटा राम्रो किस्सा सुनाएका छन् । शक्तिका अनुसार नेपाली क्रिकेटमा दुई प्रशिक्षकको ठूलो भूमिका छ र संयोगले दुवै श्रीलंकाली हुन् । पहिलो हुन्, रोय डायस । उनी त श्रीलंकाली क्रिकेटका लेजेन्ड नै हुन् । श्रीलंकाको पहिलो पुस्ताका खेलाडीमा पर्छन्, उनी । शक्तिको भनाइमा डायसले नेपाललाई क्रिकेट कसरी खेल्ने हो भनेर सिकाए । उनको संगतमा नेपाली खेलाडीले वास्तवमै क्रिकेट कसरी खेल्नुपर्छ भन्ने सिके ।
उनी आउनु अगाडि जति पनि नेपाली खेलाडी थिए, तिनले आफ्नै ढंगले क्रिकेट खेल्न सिकेका थिए । तर, नेपाली क्रिकेट टिमको पहिलो खास प्रशिक्षकको नाम भन्नुपर्दा डायसकै नाम पहिले आउँछ । त्यसपछि नाम आउँछ, पुबुदु दसानायेके । उनी डायस जत्तिका खेलाडी थिएनन्, उनले श्रीलंकाका लागि धेरै खेलेनन् । तर, प्रशिक्षकका रूपमा सायद उनीभन्दा एक पाइला अगाडि नै थिए । जति बेला उनी नेपालका प्रशिक्षक भए, उनले नेपाली क्रिकेटमा नवीनत सोच पनि भित्र्याए ।
शक्तिको भनाइमा दसानायेकेले नेपाली खेलाडीलाई क्रिकेटमा कसरी जितिन्छ, त्यो सिकाए । दसानायेके सानो–सानो कुरामा पनि धेरै ध्यान दिन्थे । उनको पारा माइक्रो म्यानेजमेन्टको थियो । जस्तो विपक्षी टिमका ब्याट्सम्यान कस्ता छन्, सबैभन्दा पहिले उनको खेलको खोजीनीति र विश्लेषण हुन्थ्यो, अनि त्यसैअनुसार उनलाई दबाबमा राख्न सक्ने बलर तयार पारिन्थ्यो । विपक्षी ब्याट्सम्यानको खेल्ने शैलीकै आधारमा फिल्डिङ सेट गरिन्थ्यो । यस्तै प्रवृत्ति बलरमा पनि लागू हुन्थ्यो ।
विपक्षी टिमका बलर कस्ता छन्, त्यसलाई बुझेर आफ्ना ब्याट्सम्यानलाई तयार पारिन्थ्यो । त्यसैले त दसानायेके हुँदा नेपाली क्रिकेटले एउटा लामै छलाङ मारेको थियो । यो त भए, सबै पृष्ठभूमि । यसमा थप ऐतिहासिक जानकारी के हो भने नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो, सन् १९९६ को एसीसी ट्रफी । त्यसमा प्रशिक्षक थिए, सुनोज भट्टराई । यो त आधिकारिक नाम भयो । त्यो प्रतियोगिता खेल्न मलेसिया जानुअघि टिमलाई प्रशिक्षण दिने काम भने भारतका वीरेन्द्र भटनागर र पाकिस्तानका फारुख जमालले गरेका थिए ।

खालि प्रशिक्षक पद
अहिले तत्काल नेपाली टिमको प्रशिक्षक पद खाली छ । नेपाली टिमका सबै खेलाडी राम्रो भएर प्रशिक्षक नै नचाहिएको स्थिति भने होइन । यही स्थितिमा बीच–बीचमा जगत टमाटाले टिम हेरिरहेका छन् । खासमा नेपाललाई सकेसम्म चाँडै प्रशिक्षक चाहिएको छ, त्यो पनि अब्बल दर्जाको । माग त विदेशी प्रशिक्षककै हो । टमाटाकै नेतृत्वमा नेपालले खेलेको अन्तिम प्रतियोगिता हो, थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजन ट्वान्टी–२० क्वालिफायर ।
यसमा नेपालको प्रदर्शन हुनसम्म खराब रह्यो । नेपालले अहिलेसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये यो नै सर्वाधिक खराब रह्योभन्दा हुन्छ । यही प्रतियोगिताको क्रममा त हो, नेपाली टिममा चर्को फुट र गुट छ भन्ने हल्ला पनि बाहिर निस्कियो, फेरि यसमा सत्यता पनि उत्तिकै थियो । त्यसको ठीक अगाडिका प्रशिक्षक उमेश पटुवालले राजीनामा दिएका थिए र यसबीच खेलाडीमा देशमा लागि राम्रो खेल्नुपर्छ भन्ने भावना पनि मरेको थियो ।
पटवालले टिम छाडेको पनि लामै समय भइसकेको छ । अबको प्रश्न हो, नेपाली क्रिकेट टिमलाई अब कस्तो प्रशिक्षक चाहियो त ? कस्ता प्रशिक्षक ल्यायो भने नेपाली क्रिकेट उँभो लाग्छ त ? नेपाललाई कत्तिको स्तरको प्रशिक्षक चाहिन्छ त अब ? अनि यो प्रशिक्षक खोज्ने काम कसरी गर्ने त ? विश्वव्यापी रूपमा खुला ढंगले नै प्रशिक्षकको आह्वान गर्ने हो कि ? नेपाल क्रिकेट संघ (क्यान) अहिले नेपाली टिमका लागि प्रशिक्षककै खोजीमा छ ।
कोरोना भाइरस संक्रमणको महामारी र यसबाट बच्न लागू भइरहेको लकडाउनका कारण क्यान खुलेर यो काममा लाग्न पाएको छैन । अहिले त क्यानले राम्रोसँग काम गर्न नपाएकोमा माफी पाउँला, तर ढिलो चाँडो यो काम पूरा गर्नु नै छ । क्यानको स्रोतलाई विश्वास गर्ने हो भने केही विदेशी प्रशिक्षक सम्पर्कमा पनि छ, नेपाली क्रिकेटको यो सर्वोच्च संस्था । केही महिना नै भइसकेको छ, उमेश पटवालले राजीनामा दिएको । यी भारतीय प्रशिक्षकले जति समय नेपालमा बिताए, त्यो धेरै अर्थमा सुखद रहेन । उनको नेतृत्वमा नेपाली टिमको प्रदर्शन राम्रो हुन सकेन ।
नेपाल आएयता सबैभन्दा पहिला उनले आफ्नो प्रमुख उद्देश्य नेपाललाई ट्वान्टी–२० विश्वकपमा छनोट गराउनु रहेको बताएका थिए । जति बेला नेपाल त्यसमा छनोट हुन सकेन्, उनले उल्टै प्रश्न गरेका थिए– नेपाल सायद त्यहाँसम्म पुग्न योग्य थिएन कि π उनलाई नेपालको प्रशिक्षक नियुक्त गर्नुमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सबैभन्दा बढी निर्णायक भूमिका थियो ।
पटवाललाई लिएर सबै निराश
आईसीसी आफैं पनि पटवालको कामबाट खुसी थिएन, स्रोत यस्तै भन्छ । आईसीसीको बुभाइ के थियो भने पटवालले राम्रोसँग काम नै गर्न सकेनन्, अथवा गर्न नै चाहेनन् । एक प्रकारले उनको भूमिका नै शंकास्पद रह्यो । आईसीसीको आशंका थियो भने कतै पटवालले नेपाली क्रिकेटलाई बिगारिरहेका त छैनन् ? नेपाली खेलाडीलाई गलत ढंगले उक्साइरहेका त छैनन् ? उनकै पालामा त हो, नेपाली टिममा खुलस्त रूपमै फुट र गुट देखिन थालेको ।
खेलाडी–खेलाडीको गुट देखिएको थियो र एक पक्षले अर्को पक्षलाई असहयोग गरिरहेका थिए । बरु एकले अर्कोलाई आरोप लगाउने काम भने भयो र भनियो, यस्तै स्थिति रहे, नेपाली क्रिकेट खस्केर कमजोर हुनेछ । समग्रमा टिमको प्रदर्शन पनि राम्रो रहेन, निकै उतारचढावपूर्ण रह्यो । ओमान र अमेरिका सम्मिलित आफ्नै भूमिमा भएको त्रिकोणात्मक वान डे सिरिजमा नेपालको प्रदर्शन एकनासे रहेन र यो प्रदर्शनमा प्रश्न गर्न सकिने धेरै स्थान थिए ।
पटवालले खासमा छोड्नुको प्रमुख कारण भने अलग्गै थियो र सम्भवतः यही कारणले उनले राम्रोसँग काम नगरेको पनि हुनसक्छ । क्यान प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा उनले प्रशिक्षक पदको नियुक्त पाएका थिए । उनको तलब थियो, महिनाको नौ हजार डलरको हाराहारीमा । उनको तलब आईसीसीले राष्ट्रिय खेलकुद परिषद्मा पठाउने गर्थ्यो । परिषद्ले कर काटेर उनलाई तलब दिने गरेको थियो । पटवालको आपत्ति परिषद्ले कर भनेर धेरै रकम काट्यो भन्नेमै थियो ।
खासमा प्रशिक्षकको तलबबारे विवाद यसअघि नै सुरु भइसकेको थियो, दसानायेकेकै प्रभावमा । उनी प्रतिमहिना आठ हजार डलरको हाराहारीमा तलब थाप्थे । त्यो बेलाको क्यानले यो रकम धेरै भयो, हामीले दिन सक्दैनौं भन्यो । यस्तोमा नेपाल सरकार नै अगाडि आएर उनको तलब आफैंले दिने गरेको थियो । यो काम तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले गरेका थिए । त्यही बेला अन्य खेलका सरोकारवालाले क्रिकेटमै मात्र किन विदेशी प्रशिक्षकलाई तलब सरकारले दिनुपर्‍यो भनेर पनि प्रश्न उठाए ।

Page 24