You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 2
जुम इन

होटल व्यवसायमा कार्की

- साप्ताहिक संवाददाता

अधिकांश मानिस अभिनय क्षेत्रमा पाइने सफलता र रंगीन दुनियाँको कल्पना गर्छन्, तर एक अभिनेता भने त्यही रंगीन दुनियाँलाई चटक्क बिर्संदै होटल व्यवसायमा क्रियाशील भएका छन् । केही चलचित्रमा सफल अभिनय गरेका अभिनेता अर्जुन कार्की खेल क्षेत्रमा समेत आबद्ध थिए । यद्यपि अहिले उनी चलचित्रको रंगीन पर्दाबाट ओझेलमा परिसकेका छन् । काठमाडौंको पशुपतिनाथबाट पदयात्रा सुरु गरी सगरमाथाको चुचुरोमा पुगेर टाउकाले टेकेर उभिएका कार्की अहिले पनि यो कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउने ध्याउन्नमा छन् । सगरमाथा आरोहणका क्रममा दुवै खुट्टाका औँला गुमाएका कार्की केही समयको आरामपछि सुनसरीको इटहरीमा मुस्ताङको वातावरणको अनुभव गराउँदै अर्ग्यानिक खानाको स्वाद चखाउने उद्देश्यका साथ वातानुकूलित मुस्ताङ हाउसको सञ्चालनमा सक्रिय भएका छन् ।
नरेन्द्र बस्नेत

 

जुम इन

आइरिस मञ्चमा संयोग

- साप्ताहिक संवाददाता

आयरल्यान्डमा भैरहेको सांगीतिक प्रतिस्पर्धा ‘ट्यालेन्ट नेसन’मा नेपालका संयोगविक्रम कुँवर (राना) पनि सहभागी छन् । ९४ जनाले सहभागिता जनाएको यो प्रतियोगितामा संयोग नेपालको प्रतिनिधित्व गर्ने एक्लो प्रतिस्पर्धी हुन् । आइरल्यान्डसम्म पुगेर संगीत प्रतिस्पर्धामा भाग लिएका संयोग संगीतलाई सार्वभौम भाषा मान्छन् । संयोगले उपाधि जित्न केही खुड्किला मात्र बाँकी छ भने उनले नेपालबाट अनलाइन भोटको आशासमेत गरेका छन् ।

 

जुम इन

रेडियो कान्तिपुरमा नयाँ आरजे

- साप्ताहिक संवाददाता

रेडियो कान्तिपुरमा चारवटा नयाँ स्वर सुनिन थालेको छ । विभिन्न आधा दर्जन कार्यक्रममार्फत चार जना रेडियो जक्की (आरजे) रेडियो कान्तिपुरको तरंगमा सुनिन थालेका हुन् । उनीहरूमध्ये सागरिका श्रेष्ठलाई रेडियोका लोकप्रिय कार्यक्रमहरू द लाइफ स्टाइल शो, टप अफ द टप्स तथा काठमाडौं बिटमा सुन्न थालिएको छ । त्यस्तै विवस राईले म्युजिकोफाइल, श्रृजना देवकोटाले गृह श्रृंगार तथा दृष्टि अर्यालले पुराना हिन्दी गीत शीर्षकको कार्यक्रम सञ्चालन गर्न थालेका हुन् । रेडियो कान्तिपुरमा द लाइफ स्टाइल शो प्रत्येक बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म, टप अफ द टप्स प्रत्येक शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेसम्म तथा काठमाडौं बिट प्रत्येक शनिवार राति ७ बजेदेखि ८ बजेसम्म प्रसारण हुन्छ । म्युजिकोफाइल भने प्रत्येक बुधबार राति ८ बजेदेखि प्रसारण हुन्छ भने गृह श्रृंगार कार्यक्रम प्रत्येक मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म प्रसारण हुन्छ । यसै गरी पुराना हिन्दी गीतहरू प्रत्येक मंगलबार राति ११ बजे प्रसारण भैरहेको छ ।

जुम इन

भित्ता कोर्ने दार्‍हीवाल

- साप्ताहिक संवाददाता

तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुचि भए पनि उनले विगत ५ वर्षदेखि भित्तेकलाको काम सुरु गरेका हुन् । लामो कपाल, झुस्स दार्‍ही पाल्ने उनी दार्‍ही ग्याङमा समेत आबद्ध छन् । सुमनले वीर अस्पतालसँगै सयभन्दा बढी भित्ताहरूमा आफ्नो कला देखाइसकेका छन् । बिजनेस स्टडिजका विद्यार्थी वाग्ले अहिले भित्तेकलालाई नै आफ्नो मुख्य पेसा बनाइरहेका छन् । जागिरका लागि कोसिस पनि गरेँ तर चित्रकलामा जस्तो रमाउन सकिन र भित्तेकलामै केन्द्रित भएँ, –वाग्ले भन्छन् । उनले केही विद्यालय, थुप्रै रेस्टुराँ तथा घरका भित्ताहरूमा आफ्नो कला देखाइसकेका छन् ।

जुम इन

अंग्रेजी गीतमा नेपाली मोडल

- साप्ताहिक संवाददाता

स्वतिक खड्का अमेरिकाको टेक्सासमा बसोबास गर्छन् । उनी म्युजिक भिडियो निर्देशनसँगै अभिनयमा पनि सक्रिय छन् । खड्का प्रायः टेन्डिङमा रहेका अंग्रेजी लोकप्रिय गीत छनौट गरेर त्यसमा नेपाली मोडलहरूलाई खेलाएर भिडियो तयार पार्छन् ।
डान्समा समेत पोख्त खड्का भिडियो निर्देशन मात्र गर्दैनन्, मोडलका रूपमा समेत आफैं काम गर्छन् । किन अंग्रेजी गीतलाई म्युजिक भिडियोमा उतारेको भन्ने जिज्ञासामा खड्का भन्छन्– ‘रुचिसँगै समयको मागअनुरूप चल्न यस्ता गीतलाई छनौट गरेको हुँ ।’ झन्डै पाँच वर्षदेखि उनी यस्ता भिडियो निर्माण, निर्देशन एवं अभिनयमा सक्रिय रहँदै आएका छन् । त्यसो त उनले १६ वटा हिन्दी गीतका भिडियो निर्देशन एवं निर्माणसमेत गरिसकेका छन् ।
शिव शर्मा

विदा

मदनमणि दीक्षित

- साप्ताहिक संवाददाता

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मिएका दीक्षितको गत बिहीबार मृत्यु भएको हो । २०१४ सालदेखि पत्रकारिता सुरु गरेका दीक्षितले ३९ वर्ष पत्रकारिता गरेका थिए । दीक्षितद्वारा लिखित ४६ वटा कृति प्रकाशित छन् । दीक्षितले २०३९ सालमा ‘माधवी’ उपन्यासबाट मदन पुरस्कार प्राप्त गरेका थिए ।

विदा

सुभद्रा अधिकारी

- साप्ताहिक संवाददाता

वरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा गत शनिबार निधन भयो । काठमाडौंको असनमा वि.सं. २००३ मा जन्मिएकी सुभद्राको निमोनियाँका कारणले निधन भएको बताइएको छ । अधिकारीले २२ वर्षको उमेरमा नेपाली चलचित्र ‘मनको बाँध’ बाट डेब्यु गरेकी थिइन् । त्यसअघि उनी नाटकमा सक्रिय थिइन् ।

विदा

किशोर राना

- साप्ताहिक संवाददाता

चलचित्र निर्देशक किशोर राना मगरको बुधबार निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उनको ५४ वर्षको उमेरमा राजधानीको निदान अस्पतालमा निधन भएको हो । राना ‘सीमारेखा’, ‘करोडपति’, ‘राँको’, ‘एक नम्बरको पाखे’ जस्ता सफल चलचित्रका निर्देशक हुन् । चलचित्र ‘प्रतिबिम्ब’ निर्माणको क्रममा निर्देशक राना अस्वस्थ भएपछि स्वास्थ्य अवस्था जाँच गराउँदा उनमा मृगौलामा समस्या देखिएको थियो ।

Page 4
कान्तिपुर गाथा

रंगमण्डल–४

- किशोर नेपाल

जहाँसम्म मेरो कुरा छ, मेरो आफ्नो सम्बन्धमा असाधारण भनेर देखाउन मसँग केही पनि छैन । म जन्मेको बेला पुष्पवृष्टि भएको थिएन । मेघको गर्जन वा शंख घण्टको निनाद पनि सुनिएको थिएन । म पहाडमा जन्मेको हुँ– सहरका मान्छेहरूको कल्पनामा पहाड भन्नेबित्तिकै मृग नाच्ने उपवन, गुराँस, झरना र मन्द पवनका दृश्य आँखाका अगाडि आउँछन् । तर म जन्मेको ठाउँमा गुराँस, उपवन र झरना केही थिएन । पानीसमेत पेटभरी पिउन मुस्किल पर्ने त्यस ठाउँमा अहिले पनि केही छैन । मानिसहरू लँगौटी र दौराजस्तो लामो भोटो लगाउँछन् । आइमाईहरू चोलो लगाउँदैनन् । यौटै फरियाले पूरै शरीर छोपेर हिँड्छन् । यो नेपाल हेर्न आउने पर्यटकलाई देखाउनका लागि आयोजना गरिएको पारम्परिक प्रचलन होइन । साहूलाई ब्याज बुझाउँदा–बुझाउँदै मेरो गाउँका मानिसहरूसँग स्वास्नीको छाती छोप्ने कपडा किन्ने पैसासमेत जोगिँदैन । त्यसैले यो आफैं प्रचलन बनेको छ ।
एक रात बिस्तारै म घरबाट निस्किएँ । बाटो थिएन– अन्धकार थियो ! सबै अर्थमा । त्यही रात म स्कुलको यौटा साथीकहाँ पुगें । उसको नाम भीमचरण थियो ! उमेरले मभन्दा निकै पाको । ऊ झन्डै २० वर्षको देहाती केटो थियो भने म भर्खर १० नाघ्न खोज्दै थिएँ । भीमचरण कम्युनिस्ट विचारले रंगित टाइपको मान्छे थियो । त्यतिबेला उसले गरेका कुरा सम्झँदा म अहिले ठम्याउन सक्ने भएको छु । ऊसँग धेरैजसो केटा टाढा हुन्थे । मान्छे साह्रो थियो, तर मद्दत सबैलाई गर्थ्यो । भीमचरण आधारातमा मलाई देखेर छक्क पर्‍यो । मैले उसलाई अलिकति झूट र अलिकति सत्य कुरा बताएँ । त्यतिबेला उसले मलाई आश्रय दियो, तर एक रात उसले मलाई आक्रमण गर्यो । आवेशमा मलाई अँगाल्यो र आफ्नी स्वास्नीलाई झैं चपाउन खोज्यो । मैले उसलाई थुकिदिएँ । उसले भोलिपल्ट आफ्नो सम्पूर्ण कम्युनिस्ट सेन्टिमेन्टसहित मलाई बर्खास्त गर्‍यो ।
म मान्छे बन्न नसकेकोमा घर परिवारका सदस्यहरू चिन्तित थिए । कतिका इच्छालाई लथालिंग पारेर म अविवाहित थिएँ । यो विश्वमा मान्छेको रगत नचुसी कोही पनि मान्छे बन्दैन रे ! मलाई मान्छेको रगत चुस्नु छैन । ती मान्छे जसको शरीरको रगत राणाहरूले, अनेक खडेहरूले, सत्ता पिपासु नेताहरूले, राष्ट्रवादीहरूले, कम्युनिस्टहरूले निथारेर चुसिसकेका छन् । यो नितान्त घृणाको कुरा हो मेरा लागि । म आफैं पनि त रगत चुसिइसकेको मान्छे हुँ ।
उत्तमकी आमालाई भष्म पारेर फर्किएपछि हरिचाको घरमा बसेर हामी रक्सी पिइरहेका थियौं । यही अवस्थामा मैले नचिकेताले यमसँग मृत्यु र जीवनको यथार्थ जान्न चाहेजस्तै गरी जान्न खोजे । यताका लागि न उताका लागि ! अन्त्य आखिर खरानी नै हो भने चिन्ता गर्नु बेकार छ । हरिचा रामबहादुरसँग आफ्नी आमाको कुरा गरिरहेको थियो– यो सृष्टि, घरबार र खान पुग्ने सम्पत्ति सबै आमाको कृपा हो । ऊ रक्सी पिएर बढ्तै भावुक भएको हुन सक्छ । तै पनि भावुकता, हरिचाको सम्बन्धमा यो प्रख्यात कुरा हो । उसकी आमा तीन पटक पोइल गएर पनि पहिलो पोइको घर र पहिलो पोइबाट जन्मिएको छोरालाई त्याग्न नसकेर फर्किएकी थिइन । हरिचा आमाप्रति कृतज्ञ छ ।
अनौठो र परिकल्पित, वाक्क–ब्याक्क पार्ने फुंग उडेको डाँडामा एक दिन बाहुन रुद्रेले मसँग भनेको थियो ! ‘सुत्न त कहाँ र मैले आफ्नी भाउजूलाई छोएको सम्म पनि थिइन । बरु एक दिन साइला काजीसँग भाउजू लहसिएको जस्तो लागेर, धर्म डिगाउलिन् भनेर दाइलाई चैतन्यसम्म दिएको हुँ । काजी साइलाले फसायो बाबु मलाई ।’
समय पलपल गुज्रिरहेको छ । आफ्नो छाक टरेकोमा म त्यति प्रसन्न भइन जति रुद्रे आफ्नो भात चलेकोमा प्रसन्न थियो । उसको यो प्रसन्नता क्षणिक थियो, किनभने एक त म जात नफालेकोमा शंका गर्ने कुनै ठाउँ भएको मान्छे थिइन । अर्को, म रुद्रेको भात चलाउन योग्य मान्छे पनि थिइन । किनभने म गाउँको हाकिम थिइन । अघि भए थरी, मुखिया र अहिलेका हकमा सरकारले भनेर जनताले चुनेका मानिस त्यस कामका अधिष्ठाता हुन ।
मैले रूद्रेलाई सम्झाए– जात, भात भनेको केही होइन ।
उसले मानेन ।
मैले रुद्रेलाई सम्झाए– मैले उसले पकाएको खाँदैमा सबैले उसले पकाएको भात खाँदैनन् ।
तर उसले आफ्नो पितामहको, गुरुबाको सन्तानमाथि फोगटको विश्वास डिगाउन चाहेन ।
विचार मात्रले के हुन्छ ? सोचाइ मात्रले के हुन्छ ? आज उत्तमकी आमा छैनन् । उत्तम छैन । सन्तान मात्रले के हुन्छ ? एक पाइला टेक्न धर्ती, एक गाँस खान अन्न र आंग छोप्न एकसरो कपडा– सायद मान्छेको सबैभन्दा ठूलो आवश्यकता यत्ति नै हो । सबैलाई थाह भएकै कुरा हो, मान्छे आफैं पनि विरोधाभाष हो !
(यो सिर्जना वि.सं. २०३५ मा भएको हो ।)

पाठक मञ्च

पाठक मञ्च

- साप्ताहिक संवाददाता

गाईजात्रे समाचार भनेर पोस्ट (गाईजात्रा विशेष समाचार) भएको समाचार पनि पत्याउने मनुवाहरूलाई पनि गाईजात्रे सलाम ।
प्रकाश शर्मा


गाईजात्रा विशेष (ब्लोअप) तस्बिर गजब लाग्यो । पहिले–पहिलेका ब्लोअपको तुलनामा यसपटकको ब्लोअप उत्कृष्ट छ । सरापे र काउली बूढीको जोडी पनि निकै जमेको छ ।
रोशन प्रधान

यसपालिचाहिँ उपयुक्त मानिस भेटिएछन (ऋषि धमला राजदूत नियुक्त) । उनी भारतका लागि नेपाली राजदूत हुन उपयुक्त छन् । यस्तै योग्य व्यक्तित्वले देशको नाम रोशन गर्छन् ।
हरिकुमार थापा


सधैं गाईजात्रा हुने मुलुकमा हुनुपर्ने कुरा व्यंग्यका रूपमा प्रस्तुत हुन्छ (धुर्मुस–सुन्तलीलाई नोबेल शान्ति पुरस्कार) अनि नहुनुपर्ने कुराचाहिँ सत्य रूपमा प्रकाशित हुन्छ ।
हरिहर जोशी

हांस्यव्यंग्यको क्षेत्रमा ‘हम जाएगा’ अर्थात् दलबहादुर गुरुङ (कमेडीमा हम जाएगा क्रेज) बिर्सन नहुने नाम हो । उनका ठेट भाषाका मौलिक जोक्स खुबै रमाइला हुन्छन् । सूचनामूलक यो कथा राम्रो लाग्यो ।
विनोद अधिकारी

Page 5
समय सन्दर्भ

इतिहास र अतीत

- अधिकारी रवीन्द्र

इतिहास अतीत होइन, यसको सानो अंशमात्र हो । तथ्यहरूले जहिल्यै सत्य बोल्दैनन्, तथ्यलाई कसरी लिने मानिसअनुसार फरक–फरक दृष्टिकोण हुन सक्छ । त्यसै पनि एब्सल्युट सत्यको अस्तित्व छैन । ठाउँ, व्यक्ति एवं परिस्थितिअनुसार एउटाको सत्य अरु धेरैका लागि मिथ्या हुन्छ । एउटा तथ्य र अर्को तथ्यलाई पात्र, ठाउँ वा समय दिएर जुन मूर्त कथा बन्छ त्यो इतिहास हो । इतिहास एउटा लिखत भएकाले यसले अलिखित अतीतका ९० प्रतिशत भन्दा बढी कथा वा घटनाहरू गायब बनाएको हुन्छ । कसैले कुनै प्रश्नको उत्तर मौनताबाट दिन्छ भने बुझ्नेले एउटै तरिकाबाट बुझ्नुपर्छ भन्ने छैन । जो अव्यक्त, अलिखित वा अदृश्य छ त्यो फिक्सन हो । त्यसैगरी जीवन एउटा वास्तविकता हो भने मृत्युपछिको जीवन एउटा फिक्सन हो अर्थात् मृत्यु हरेक जिन्दगीको फिक्सन छिर्ने द्वार हो । जसरी अव्यक्त भूतकालहरूलाई कलम र पानाहरूले कथामार्फत आवाज दिन्छन्, त्यसैगरी मृत्युपछिको फिक्सनमा बाँचिरहेका जिन्दगीहरू अनेक रूपमा वास्तविकतालाई छुन आइरहन्छन् । उनीहरूका बोल्ने मुखहरू भनेकै हाम्रा सपना, कल्पना अनि फिक्सनहरू हुन् । सायद तिनै आत्माहरूका अंश नै मध्यरातको निन्द्राबीच कसैलाई झस्काउने कारक हुन् अनि शायद तीनै अदृश्य गैरवैज्ञानिक इन्जिनहरू भगवान र भूतको भ्रम भिरेर यदाकदा बेलाबेलामा मर्त्यलोकमा तैरिरहन्छन्— सायद–सायद ।
इतिहासमा लेखिएका गौतम बुद्ध, पृथ्वीनारायण शाह, कालु पाण्डे र जङ्गबहादुरहरू मात्र सत्य होइनन् । अतीतका केही कालखण्डमा जन्मिएर अवसान भएका करोडौँकरोड मानिसहरूका यहाँ मृत्युपर्यन्त अवशेष नै पखाल्लिएर गएका छन् । तिनीहरूलाई तिनीहरूकै पनाती खलकहरूले श्राद्धमा पिन्ड सेलाएर फगत एक दिन स्मरण गर्लान्, त्यो पनि केही समयसम्म । तिनका नाम, अनुहार र हाउभाउ समयले बिर्साउँछ, मानिसले बिर्सन्छ । यो शरीर चलाउने अभौतिक वस्तु के हो ? मलाई म र तँलाई तँ अनि उसलाई ऊ भनेर चिनाउने चालक को हो ? सबै जीवहरूलाई चलाउने अवश्य पनि हामी भित्र एउटा ड्राइभर छ, जुन व्यक्ति र जीवैपिच्छे पृथक छ । मृत्युपछि ती अर्बौं अर्बको संख्यामा रहेका ड्राइभरहरू कता बिलाउँछन् ? के हामीभन्दा फरक ती ड्राइभरले जन्मअघिको जिन्दगी र मृत्युपछिको जिन्दगी पनि जिउँछन् ? यस्ता प्रश्न जति सोच्यो त्यति नयाँ प्रश्न जन्मिरहन्छन् ।
पटक–पटक लेखक, कलाकारहरूले इतिहासका अमूर्त पात्रहरूलाई आकार दिएर उभ्याउने चेष्टा गरिरहेका हुन्छन् । अतीतलाई इतिहासमा परिणत गर्ने यो अभियान सदैब अपुरो रहने निश्चित छ । नासिएर गएका करोडौँ करोड जिवात्माहरूका खर्बौं खर्ब कथा लेखिन बजेट पुग्दैन, समय छैन, द्रष्टाहरूको अभाव छ । सोचमा समेत नअटाउने ती कथाहरू अभिव्यक्त गरेर कसले, कहिले सक्छन् ?
यो ब्रह्माण्डका यावत् इहलीलाहरूको प्रारुप प्रकृति हो, तसर्थ प्रकृति नै भगवान् हो । सबै नश्वर् जगतलाई प्रश्रय दिने पृथ्वी, सूर्य, वायु, आकाश, जल सबै–सबै प्रकृति हुन् । जन्मिने हरेक चिज मर्नै पर्ने यही प्रकृतिको अकाट्य नियम सबैले पालन गर्नुपर्छ । प्रकृतिले आफ्नो आयु रहेसम्म सबै लीला रचाएकै हुन्छ । मनुस्यजगतमा कुनै मानिस नामी हुन्छ, विख्यात हुन्छ तर आखिर प्रकृति जगतमा त्यही मानिस् ठीक अरु ऐरे–गैरेसरह नै विलय हुन्छ । प्रकृतिले मानव निर्मित शालीक वा ताम्रपत्र बुझ्दैन । ढुङ्गोधरि एक दिन तत्वमा रुपान्तरण भएर अर्कै परिचयमा विलीन हुन्छ, तसर्थ प्रकृतिले सबै अतित देखेको छ तर मानिसले केवल इतिहास देख्छ । यदि हामी इतिहास कोर्ने इतिहासकार वा इतिहास रच्ने महानायक बन्यौँ भने पनि त्यो मनुष्य जगत्का लागि मात्र हुनेछ ।

समय सन्दर्भ

मिस नेपाल कर्भी

- साप्ताहिक संवाददाता

फरिया सेन्टर प्राइभेट लिमिटेडले काठमाडौंमा मिस नेपाल कर्भीको आयोजना गर्ने भएको छ । यो सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिताको तुलनामा केही फरक किसिमको हुने सेन्टरले जानकारी दिएको छ । शरीर मिलेको तथा जीउडाल राम्रो भएका युवतीले मात्र सौन्दर्य प्रतियोगितामा भाग लिनुपर्ने मान्यता तोड्दै यो सौन्दर्य प्रतियोगितामा सबै किसिमका रूप–रंगकाहरूलाई सहभागी गराइने बताइएको छ । महिलाहरूको क्षमताको कुरा गर्दै खालि बाहिरि सौन्दर्य प्रतियोगिता मात्र हुने भएकाले भित्री प्रतिभा र क्षमता वृद्धि गराई महिलाहरूमा हौसला प्रदान गर्ने यो प्रतियोगिताको लक्ष्य छ । उमेर ढल्दैमा र शरीर मोटो हुँदैमा कोही पनि प्रतिभाविहीन वा कमजोर हुन्छन भन्ने हुँदैन । त्यसैले सबै महिला उद्यमशील र सामाजिक बन्नुपर्छ भन्ने हेतुले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकहरूले बताएका छन् । आगामी भदौ १२ गते ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालन हुने यो प्रतियोगिताको ग्रान्ड फिनालेमा ३० जनाले प्रतिस्पर्धा गर्नेछन् ।

 

अब मिस्टर दार्‍हीको तयारी

- प्रमिता ढकाल

मिस्टर दार्‍ही– २०१९ का लागि साउन १८ गते पूर्वको विराटनगरबाट अडिसन सुरु गरिएको थियो । विराटनगरपछि इटहरी, बिर्तामोड, चितवन, बुटवल, बाँकेको कोहलपुर तथा पोखरा हुँदै साउन ३२ गते काठमाडौंमा अन्तिम अडिसन लिइएको यो प्रतिस्पर्धाका सद्भावना दूत अभिषेकराज सिंह थापाले बताए । ती अडिसनमध्ये पोखराबाट ८ जना, काठमाडौंबाट १० जना, चितवनबाट २ जना, इटहरीबाट ४ जना र बिर्तामोड तथा विराटनगरबाट ३–३ जना गरी ३० जना अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । प्रतियोगिताको फाइनलका लागि एक महिना प्रशिक्षण सञ्चालन गरिने आयोजक थन्डर प्रोडक्सनका प्रवन्ध निर्देशक विजय कार्कीले बताएका छन् । यो प्रतियोगितामा सहभागिता जनाउनेहरूले क्लिन सेभ गर्न पाउने छैनन्, यद्यपि दार्‍ही लामो हुनुपर्ने बाध्यता भने नरहेको कार्कीले जानकारी दिए । प्रतियोगिताको फाइनल असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुने बताइएको छ ।

समय सन्दर्भ

तीज सारी प्रतियोगिता

- साप्ताहिक संवाददाता

नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै छ । यसैलाई मध्यनजर गरेर यतिबेला विभिन्न कार्यक्रम, ब्युटी प्याजेन्ट तथा फोटो प्रतियोगिताहरू आयोजित भैरहेका छन् । यस्तैमा तीजलाई लक्षित गरेर एक फरक कन्सेप्टमा फोटो प्रतियोगिता हुने भएको छ । ‘मिस तीज सारी क्विन–२०१९’ शीर्षक दिइएको उक्त प्रतियोगितामा सहभागीहरूको फोटोसुट गराई ३ देखि ४ मिनेटसम्मको छुट्टाछुट्टै बायोग्राफी भिडियो निर्माण गरिनेछ । जुन फोटोलाई डिथ्री फोटोग्राफी फेसबुक पेज एवं भिडियोलाई सोही पेज तथा डिथ्री टिभी युट्युब च्यानल बाट सार्बजनिक गरिनेछ भने सार्वजनिक तस्बिरको लाइक, सेयर तथा भिडियोको भ्युजका आधारमा बिजेता घोषणा गरिने बताइएको छ । यो प्रतियोगिताको पुरस्कार वितरण समारोहमा सहभागीहरूले सारी र्‍याम्प वाकसमेत गर्नेछन् । यसैगरी प्रतिस्पर्धामा ‘बेस्ट फोटोजेनिक एवार्ड’ तथा ‘अर्गनाइज च्वाइस एवार्ड’ समेत प्रदान गरिनेछ ।

Page 6
अन्तर्वार्ता

भविष्य इलेक्ट्रिक भेइकलको हो

- साप्ताहिक संवाददाता

सन्तोष एस. गिरी एडी फ्याक्टरका प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २००२ मा कान्तिपुर टेलिभिजनमा ॅलाइसेन्स टु ड्राइभ’ कार्यक्रम उनैले सुरु गरेका थिए । सानैदेखि अटोमोबाइलका सौखिन सन्तोषले त्यतिबेला सुरु गरेको यो कार्यक्रमलाई नेपाली टेलिभिजनमा पहिलो अटोबाइल शो मानिन्छ । त्यतिबेला यो शो झन्डै एक वर्ष चलेर बन्द भएको थियो । ४५ वर्षीय सन्तोषले त्यही ॅलाइसेन्स टु ड्राइभ’ कार्यक्रम १६ वर्षपछि पुनः कान्तिपुर टेलिभिजनमै सुरु गरेका छन् । तीन महिनाअघिदेखि प्रसारण हुन थालेको यो कार्यक्रममा अटोमोबाइल बजारसम्बन्धी सामग्री प्रसारण हुन्छ । सन्तोषसँग नेपालको गाडी संस्कृति, नेपालीहरूको गाडी मोह, सडक उपयुक्त सवारी, सवारी छनौटजस्ता विषयमा केन्द्रित रहेर साप्ताहिकका लागि जनक तिमिल्सिनाले गरेको कुराकानी :

नेपालीहरूको गाडी चढ्ने कल्चरलाई कसरी हेर्नुहुन्छ ?
नेपालीहरू पहिलेदेखि नै सौखिन हुन् । हाम्रो गाडी चढ्ने सौखिन कल्चर पहिलेदेखिकै हो । बाटो नहुँदा पनि भरियाहरूलाई बोकाएर गाडी ल्याउने हाम्रा पुर्खाहरूजस्ता सौखिन संसारमा विरलै पाइएलान् । बोकाएर ल्याउने भन्नु र साँच्चै बोकाएर ल्याउनुमा पनि फरक छ । त्यतिबेला मेकानिक्सहरू पनि थिएनन्, कसरी मेन्टिनेन्स गरे होलान् ? अहिले पनि हामी नेपाली गाडीका सौखिन मात्र होइनौं, गाडीको भ्यालु बुझेर हो कि यति धेरै ट्याक्स तिरेर पनि गाडी किनिरहेका छौं । हरेक वर्ष झन्डै १० हजारको हाराहारीमा नयाँ गाडी थपिरहेका छन् । त्यसमा कमर्सियल गाडी जोडिएको छैन । बाइकहरूको अवस्था पनि त्यस्तै छ ।

नेपालीहरूको गाडी मोहको मुख्य कारण के होला ?
मुख्य कारण त भौगोलिक अवस्था पनि हो । उकालो–ओरालो बाटोमा हिँडडुल गर्नुपर्ने भएकाले पनि हो । अर्को कारण नेपालीहरू सौखिन पनि हुन् । भारतजस्तो सस्तोमा पाइने भएको भए, नेपालमा कति गाडी हुन्थे होला ? जस्तो अहिले भारतमा ८ लाखमा पाइने गाडीलाई नेपालमा २२–२३ लाख पर्छ । ८ लाखको तीन गुणा बढी तिरेर हामी नेपालमा गाडी चलाउँछौं । अनुमान मात्र गरौं, नेपालीले सहुलियतमा गाडी पाएको भए के हुन्थ्यो होला ? सरकारले बढी कर लगाउनु भनेको अलि थोरै गाडी चलून् भनेर पनि हो । अर्को, पब्लिक ट्रान्सपोर्टेसनको अवस्था राम्रो नभएर पनि हो । यदि मोनोरेल, अन्डरग्राउन्ड रेल आदि भएको भए पनि गाडी कम हुन्थे होलान् ।

त्यसबाहेक यसमा कर्पोरेट कल्चरले कत्तिको भूमिका खेलेको देख्नुहुन्छ ?
अवश्य भूमिका खेलेको छ । हाम्रो क्रय क्षमता पनि वृद्धि भएको छ । नेपालीको सपनामा पहिले घर, त्यसपछि छोराछोरीको एजुकेसन अनि त्यसपछि गाडी हुन्छ । मैले दुई खालको वर्ग देखेको छु, एउटा आवश्यकताका लागि गाडी चलाउने छ । काठमाडौंमा पब्लिक ट्रान्सपोर्टेसन सुविधाजनक छैन, राति अबेर गाडी नै पाइँदैन, यदि पाइने भएको भए म पनि गाडी लिन्नथें होला । हामी यहाँ बाटो ठूलो बनाइरहेका छौं, युरोपतिर बाटो सानो पारिरहेका छन् । उनीहरू मानिस हिँड्ने बाटो ठूलो र गाडी हिँड्ने बाटो सानो बनाइरहेका छन्, यसको अर्थ उनीहरू गाडी चढ्ने कल्चरलाई डिस्करेज गर्न खोजिरहेका छन् । नेपालमा मानिसहरू एउटा रहरले र अर्को करले गाडी चढिरहेका छन् । एक त देखाउनका लागि पनि गाडी चढिन्छ । मोटरसाइकलमा कुनै कार्यालयमा गयो भने गेटमा इन्ट्री गर्न लगाइन्छ, गाडी चढेर गयो भनेर सलाम ठोकेर ढोका खोलिदिन्छ । समाजको यस्तो मनोविज्ञान छ । गाडी, सुट र सुन लगाएको धनी, अरू गरिब भन्ने सोच छ । नेपालीहरूका लागि गाडी सिम्बोल अफ स्टाटस पनि हो ।

भनेपछि, गाडीलाई सिम्बोल अफ स्टाटसका रूपमा लिने वर्ग पनि छ ?
गाडीलाई सिम्बल अफ स्टाटस मान्ने एउटा वर्ग छ । जुन देशका रेन्जरोभरको आधिकारिक वर्क स्टेसन नै छैन, त्यहाँ सबैभन्दा बढी रेन्जरोभर छन् । एकताका नयाँदिल्लीभन्दा बढी रेन्जरोभर काठमाडौंमा थिए । अहिले पनि नेपालमा ५०–६० वटाभन्दा बढी रेन्जरोभर भएको अनुमान गरिन्छ । किशोर गेयरले बेचिरहेको छ, तर आधिकारिक रूपमा रेन्जरोभरको विक्रेता नेपालमा छैन । मर्सिडिजको आधिकारिक विक्रेता पनि नेपालमा छैन, तर मर्सिडिज पनि सडकमा उत्तिकै देखिन्छ । उनीहरू कहाँ सर्भिसिङ गर्छन् ? पार्ट्सहरू कसरी जुटाउँछन् ?

महँगा गाडी चढ्ने नेपालीहरू को हुन् ?
बैकका सिइओहरू, ठूला–ठूला बिजनेस हाउसका प्रोप्राइटरहरू तथा रियलस्टेट व्यवसायीहरू बढी छन्् । महँगा गाडी चढ्नेहरू गन्न सकिने छन्, तर भारतमा नर्मल मूल्यमा पाइने गाडी नेपालमा किन्दा धेरै महँगो पर्न गएको पनि यस्तो देखिएको हो ।

मध्यम वर्गका नेपालीहरूको रोजाइमा भारतीय गाडीहरू बढी पर्नुको कारण के हो ?
धेरैजसोको रोजाइमा भारतीय गाडी नै पर्छन्, त्यसको प्रमुख कारण स्पेयर्स पार्ट्स सजिलै पाइनु हो । अर्को, भारत जान सहज प्रवेश सुविधा पनि भयो । जापानिज तथा कोरियन गाडीहरूको मेन्टिनेन्स पनि महँगो छ भन्ने हुन्छ । भारतले सस्तो, टिकाउ, माइलेज बढी दिने तथा बलिया गाडीहरू उत्पादन पनि गरिरहेको छ । उनीहरू र हाम्रो बाटो लगभग उस्तै भू–धरातलमा आधारित छ । त्यसैले नेपालको ठूलो हिस्सा, लगभग सबै भने पनि हुन्छ, ले भारतीय गाडी नै किन्छ ।

नेपालमा बढी चलेका गाडीका ब्रान्डहरू के–के हुन् ?
मैले सबैभन्दा बढी देखेको भनेको मारुती सुजुकी नै हो । त्यसबाहेक हुण्डाई पनि हो । बाटोमा सबैभन्दा बढी देखिने भनेको हुण्डाई आइटेन, सुजुकी वागनआरहरू हुन् । आइटेनको भारतमा ८ लाख पर्छ, यहाँ झन्डै २८ लाख पर्छ । वागनआरको ७ लाख ५० हजार छ, यहाँ झन्डै २५–२६ लाख पर्छ । मलाई यो गाडी सानो भयो अलि ठूलो चाहियो भन्नेहरूले टाटा खोज्छन्, गाउँघरतिर चलाउन एसयुभी छ—महिन्द्रा स्कारपियो । यो पनि नेपालमा बढी बिक्री हुने गाडी हो । भाडामा चल्ने सबै स्कारपियो नै छन्, काठमाडौं बाहिर जानेहरू पनि स्कारपिओ नै हुन् ।

हाम्रो सडकको अवस्थामा फिट हुने गाडी कुन हुन् ?
हाम्रो सडकको अवस्थामा अनुसार त कुनै पनि गाडी फिट हुँदैनन् । यहाँको सडकको अवस्था निकै नाजुक छ । ग्राउन्ड क्लियरेन्स धेरै भएको लिएर जाऊँ गल्लीमा छिर्दैन, सानो गाडी लगौं त्यसले भुइँ छुन्छ । किनभने गाडी त दुई जनाभन्दा बढी भयो भने लिने हो । मैले देखेको हाम्रो काठमाडौंका लागि उपयुक्त हुने गाडी फोर्डको नयाँ इको स्पोटर््स हो । म फोर्डको प्रवक्ताका रूमा यसो भनिरहेको छैन । किनभने गल्ली–गल्लीका लागि सानो पनि छ, ग्राउन्ड क्लियरेन्स पनि राम्रो छ । पहिले मानिसहरू माइलेज, कम्पनी भन्थे होला, अहिले सबैभन्दा पहिले ग्राउन्ड क्लियरेन्स हेर्छन् । अझ तीन–चार वर्ष यो बाटो बन्नेवाला छैन्, त्यसैले मानिसहरूले ग्राउन्ड क्लियरेन्समा बढी जोड दिन थालेका छन् । हाम्रो जस्तो बाटोमा गाडी चलाउनु चानचुने कुरा होइन् । धन्न नेपालीहरू यस्तो धूलोमा पनि गाडी टिलिक्क टल्काएर हिँड्छन् । नेपालीहरू आफ्नो गाडीलाई असाध्यै माया गर्छन्, त्यसैले त यस्तो धूलो–हिलोमा पनि गाडी टिलिक्क हुन्छ, गाडीहरू कोरिएका हुँदैनन् । नयाँ दिल्लीमा त कोरिएको अनि नठोक्किएको कुनै गाडी हुँदैन । जस्तो परिस्थितिमा पनि नेपालीहरूले बचाएर आफ्नो गाडी चलाइरहेका छन् । यसको कारण माया अनि महँगो हुनु पनि होला । भारतको जस्तो ६–साढे ६ लाख भएको भए यहाँ पनि मतलब हुँदैनथ्यो कि ?

नेपालीहरूले कस्ता गाडी किन्दा उपयुक्त हुन्छ ?
म नयाँ गाडी किन्न चाहने नेपालीहरूलाई इलेक्ट्रिक भेइकल किन्न सुझाउँछु । पहिलेजस्तो इलेक्ट्रिक भेइकल होइन, अहिले मेरो आफ्नै दृष्टिकोणमा पनि परिवर्तन आएको छ । कियाको इलेक्ट्रिक निरो जति पावरफुल गाडी मैले अहिलेसम्म चलाएको थिइनँ । त्यस्तो पावरफुल गाडी, के चाहिन्छ सबै कुरा छ । तुलनात्मक रूपमा रनिङ कस्ट ८० प्रतिशतभन्दा कम छ । हुन्डाईको इलेक्ट्रिक कार कोना पनि छ । अरू थुप्रै इलेक्ट्रिक भेइकल पनि अटो मोबाइल कम्पनीहरूले ल्याउँदैछन् । हाम्रोजस्तो राजनीतिक र भौगोलिक धरातल भएको देशमा उपयुक्त साधन भनेको इलेक्ट्रिक भेइकल नै हो । दुईपांग्रे र चारपांग्रेमा अब इलेक्ट्रिक भेइकल नै भविष्य हुन् ।

आर्थिक आधारमा हामीले कसरी गाडीहरू छान्ने ?
सस्ता इलेक्ट्रिक भेइकल पनि पाइन्छन् । महिन्द्राको रेभा सस्तो छ, लक्जरी खोज्ने हो भने हुन्डाई र कियाका गाडी छन् । चीनतिरबाट दुई तीन वटा एकदमै राम्रा इलेक्ट्रिक भेइकल आउँदैछन् । चीन कै नम्बर वान इलेक्ट्रिक भेइकलहरू पनि आउँदैछन् । इलेक्ट्रिक बस पनि आयात हुँदैछन् । अब नेक्स्ट भनेकै इलेक्ट्रिक हो । सरकारले अब बिजुलीको समस्या हुँदैन भनेको छ, अर्कातर्फ इकोलोजीका लागि पनि उपयुक्त साथै आफ्नो पनि कम खर्च हुने भएकाले इलेक्ट्रिक भेइकल नै सही रोजाइ हुन्छ ।

गाडी किन्नुपूर्व के–कस्ता कुरामा ध्यान दिने ?
सबैभन्दा पहिले त आफ्नो आयस्रोतमा ध्यान दिनुपर्छ । अरूको लहैलहैमा लागेर हुँदैन । नयाँ गाडी नै किन्नुपर्छ भन्ने पनि छैन । के–का लागि गाडी किन्न लागेको हो ? कति जना चढ्ने हो ? अफिस–घर मात्र हो कि, अफिसबाट कतै बाहिर पनि जानुपर्छ कि ? त्यसबाहेक ईएमआई कतिसम्म तिर्न सकिन्छ जस्ता कुरा एकदमै महत्वपूर्ण हुन्छन् । त्यसबाहेक अर्को महत्वपूर्ण कुरा गाडी आफैंले चलाउने हो कि ड्राइभर राख्ने हो ? भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । कति ड्राइभर प्लेजरका लागि राखिएको हुन्छ, तर फेरारी किनेर ड्राइभर राख्नुको के अर्थ भयो र ? पैसा छ भन्दैमा हमर किनेर ड्राइभर राख्नुको के मतलब छ ? ड्राइभर राखेर मर्सिडिज चलाउने र आफू मस्तसँग पछाडि बस्ने हो । बाटोमा महँगा–महँगा गाडीहरू झ्याल खोलेर चलाउँछन्, त्यसको के मतलब हो मत बुझ्दै बुझ्दिनँ । अहिले त पहिलेको जस्तो छैन, गाडीका यति धेरै रेन्ज छन् कि सबैलाई एक न एक अप्सन फिट हुन्छ । मल्टिपर्पोज भेइकल, स–साना एसयुभीहरू छन्, क्रस ओभरहरू छन् । अहिले त अप्सनै अप्सन छन् । अहिले धेरैजसो ब्रान्डले आफ्नो उत्पादनमा सकेसम्म कमी–कमजोरी आउन दिँदैनन् ।

अहिले नेपाली बजारमा सबैभन्दा महँगा गाडी कति रेन्जका छन् ?
मैले सबैभन्दा महँगो देखेको एउटै छ, मैले सुनेको पनि छु त्यो एकदमै राम्रो भिन्टेज कार कलेक्सन । मैले देखेको मर्सिडिज मेब्याक, राजबहादुर शाहजीको हो, ब्ल्याक कलरमा छ । मेरो विचारमा त्यसको मूल्य ५–६ करोड हुनुपर्छ । म यसको मूल्य ठोकुवा गर्न सक्दिनँ, तर नेपालमा मैले देखेको महँगो गाडी त्यही हो । त्यसबाहेक महँगा रेन्जरोभरहरू त भैहाले । ओहो यस्तो पनि गाडी रै’छ भन्नेचाहिँ त्यही मेब्याक हो । त्यो गाडी ल्याउनु पनि ठूलै आँट हो । हाम्रो बाटोको कन्डिसनमा त्यस्तो गाडी ? उहाँले त्यो गाडी कहाँ चलाउनुहुन्छ र खै ?

भिन्टेज कारहरूमा सरकारले धेरै कर लिएको गुनासो पनि सुनिन्छ नि ?
सरकारको पुराना गाडीहरू हटाउने नीति ठीक छ, तर भिन्टेज कारहरूका बारेमा सरकारले फरक ढंगले सोच्नुपर्छ । एकदमै पुराना भिन्टेज कारमा सरकारले सहुलियत दिनुपर्ने हो, यस्ता गाडीलाई भारत र बंगलादेशले ट्याक्स फ्री गरिसके । संसारभरबाट लोप हुन लागेका यस्ता पुराना गाडी सौखिनहरूले मात्रै बचाएर राखेका छन्, तर कर एकदमै बढी छ, सरकारले त्यसलाई सहुलियत दिनुपर्छ ।

Page 7
सवारी

सेलिब्रेटीको कार मोह

- साप्ताहिक संवाददाता

निजी सवारी अब नेपालीका लागि विलासिताको वस्तु रहेन । कर्पोरेट वर्ल्डमा काम गर्ने नेपालीहरूका लागि चारपांग्रे आवश्यकता र सौखको विषय भैसकेको छ । सेलिब्रेटीहरूका लागि त सवारी अब विलासिता होइन, आवश्यकता बन्न पुगेको छ ।
नेपालका अधिकांश सेलिब्रेटीसँग निजी सवारी साधन छ । काठमाडौंमा अधिकांश कलाकार निजी कारमा हुइँकिन्छन् । त्यसो त यतिबेला कलाकारहरूबीच गाडी किन्ने प्रतिस्पर्धा नै चलेको पाइन्छ । गायक प्रमोद खरेलले दुई महिनाअघि मात्र हुन्डाईको क्रेटा कार खरिद गरे । उनले करिब आठ वर्षअघि स्यान्ट्रो कार किनेका थिए, तीन वर्ष स्यान्ट्रो चढेपछि हुन्डाई आई–१० किने । हुन्डाई आई–१० करिब पाँच वर्ष प्रयोग गरेपछि दुई महिनाअघि क्रेटा खरिद गरेको खरेल बताउँछन् । सेतो रङको उक्त कार खरेलले ५४ लाख रुपैयाँमा खरिद गरेका हुन् ।
अभिनेता निखिल उप्रेतीले कारमा सयर गर्न थालेको वर्षौं भैसकेको छ । डेब्यु चलचित्र पिँजडाबाट चर्चामा आएका उप्रेतीले अहिलेसम्म तीनवटा कार फेरिसकेका छन् । उनले पिँजडामा अभिनय गरेको तीन वर्षपछि सेकेन्डह्यान्डको स्यान्ट्रो कार १२ लाख रुपैयाँमा खरिद गरेका थिए । दुई वर्ष स्यान्ट्रो चढेपछि उप्रेतीले डाइहात्सुको पुरानो टेरियस खरिद गरे । एक वर्ष चढेपछि डाइहात्सुकै नयाँ कार खरिद गरेको निखिल बताउँछन् । यही क्रममा निखिल नेपाली चलचित्रबाट ब्रेक लिँदै मुम्बई पुगे । त्यहाँ रहँदा निखिलले महिन्द्रा एक्स युभी ५०० चढेका थिए । ड्राइभिङका सौखिन उप्रेतीले मुम्बईदेखि काठमाडौंसम्मको करिब २ हजार किलोमिटर लामो यात्रा ड्राइभिङबाटै पूरा गरेका छन् । निखिल भन्छन्, ‘म महिन्द्रा एक्स यू भी ५०० मोडलको गाडीमा मुम्बईदेखि काठमाडौंसम्म आएको छु, त्यो नै मेरो अहिलेसम्मको सबैभन्दा लामो ड्राइभिङ हो ।’ अहिले उप्रेतिसँग हुन्डाईको क्रेटा छ । उनले यो गाडी दुई वर्षअघि खरिद गरेका हुन् ।
अभिनेता भुवन केसी पनि गाडीप्रेमी हुन् । उनी गाडी फेरी–फेरी चढ्ने अभिनेतामा पर्छन् । केसीले अहिलेसम्म थुप्रै गाडी परिवर्तन गरिसकेका छन् । अहिले उनी रातो रङको हुन्डाईको क्रेटा चढ्छन् । अभिनेता प्रदीप खड्का पनि रातै क्रेटा चढ्छन् । खड्कालाई उक्त गाडी चलचित्र ‘प्रेमगीत–२’ का निर्माता सन्तोष सेनले चलचित्र रिलिज भएको ५१ दिनको अवसर पारेर उपहार दिएका थिए ।
अभिनेता पल शाहले निजी कार चढ्न थालेको करिब तीन वर्ष भयो । त्यसभन्दा अघि उनी मोटरसाइकलमा यात्रा गर्थे । शाहले तीन वर्षअघि निशान कम्पनीको सेकेन्डह्यान्ड सन्नी कार खरिद गरेका थिए । हाल उनी यही कारमा सयर गर्छन् । सिल्भर कलरको उक्त कार किनेपछि सोही वर्ष काठमाडौंबाट वीरगन्ज पुगेको शाह बताउँछन् ।
अभिनेत्री प्रियंका कार्की टाटाको जेस्ट चढ्छिन्  । अभिनेता राजेश हमाल पनि गाडीप्रति मोहित छन् । हमाल कियाको स्पोर्टेज चढ्छन् । हास्यकलाकार सन्दीप क्षेत्रीले गाडी चढ्न थालेको चार वर्ष भयो । उनीसँग अहिले क्रेटा छ । यसभन्दा अघि उनी हुन्डाईकै आई ट्वान्टी चढ्थे ।
गायक हेमन्त शर्माले निजी कार चढ्न थालेको करिब आठ वर्ष भयो । उनले सुरुमा मारुतीको अल्टो किनेका थिए । उक्त गाडी रिकन्डिकसनबाट ५ लाख ६५ हजारमा किनेको शर्मा बताउँछन् । तीन वर्ष अल्टो चढेपछि उनले हुन्डाईको आई–१० खरिद गरे । अहिले उनीसँग हुन्डाईकै नयाँ आई–२० छ, जसलाई उनले तीनवर्ष अघि ३८ लाखमा खरिद गरेका हुन् ।
यस्तै गायक रामकृष्ण ढकाल कियाको स्पोर्टेज चढ्छन् । ढकालले यो गाडी चढ्न थालेको करिब चार वर्ष भयो । ढकाल पनि गाडीका सौखिन मानिन्छन् ।

अभिनेता दीपकराज गिरी टाटाको हेक्जा चढ्छन् । उनले यो गाडी करिब ९ महिनाअघि किनेका हुन् । यो गाडी किनेपछि पोखरासम्मको लामो यात्रा गरेको गिरी बताउँछन् । हेक्जाभन्दा अघि गिरीले सुजुकीको स्विफ्ट डिजायर तथा हुन्डाईको आई–१० को सवारी गरेका थिए । यस्तै दीपाश्री निरौला अहिले हुन्डाईको आई–२० चढ्छिन् । उनले यो गाडी करिब एक वर्षअघि ४२ लाखमा खरिद गरेकी हुन् । यसभन्दा अघि उनी स्यान्ट्रो चढ्थिन् । यस्तै अभिनेता जितु नेपाल हुन्डाईको आई–२० चढ्छन् । यसभन्दा अघि उनी हुन्डाईको आई–१० चढ्थे ।

Page 8
प्रविधि

विश्वकै पहिलो फाइभ जी होटल

- साप्ताहिक संवाददाता

फाइभ जीबाट के–कस्ता कार्य गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यका साथ ओपो अस्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ, फाइभ जी पावर्ड स्मार्ट होटलको निर्माण गरेको छ । समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि तथा फाइभ जी नेटवर्कको पूर्ण सुविधा उपलब्ध गराइएको छ । आउने केही महिना यो होटल अस्ट्रेलियाका विभिन्न फाइभ जी लोकेसनहरूमा पुर्‍याइनेछ । यसको सुरुवात गोल्ड कोस्टको होम अफ आर्ट्स (एचओटीए) बाट गरिएको छ ।

के–कस्ता सुविधा ?
स्मार्ट (मिरर) ऐना–होटलमा रहेका स्मार्ट मिररमा पाहुनाले आशा गर्न सक्ने सम्भवतः सबै किसिमका सुविधा उपलब्ध गराइएको छ । यसलाई स्मार्ट उपकरणसँग कनेक्ट गरी ताजा समाचार हेर्ने, सेयर बजार सम्बन्धी ताजा जानकारी लिने, बिहानको पत्रिका पढ्ने, चलचित्र हेर्ने वा परफेक्ट मिरर सेल्फीका लागि उपयुक्त प्रकाशको व्यवस्था पनि गर्न सकिन्छ ।
सर्वसुलभ गेम– होटलमा रहेको फाइभ जी गेमिङ स्विटमार्फत पाहुनाले आफ्नै हत्केलामा हाई एन्ड गेमिङ कम्प्युटरको अनुभव गर्न सक्छन् । प्रयोगकर्ताले सहजै पीसीमा वा फाइभ जी स्मार्टफोनको सहायताबाट गेमको भण्डारसम्म आफ्नो पहुँच बनाई आफूलाई पायक पर्ने स्थानबाट गेमिङको मज्जा लिन सक्छन् ।
बोलेरै कार्य सम्पादन– यो होटलमा उपलब्ध गराइएको रेनो फाइभ जी उपकरण गुगलको होम हब तथा स्मार्ट होम फिचर्सबाट सुसज्जित छन् । पाहुनाले केवल आवाजको माध्यमबाट प्रकाशको तीव्रता नियन्त्रण, यू–ट्युब म्युजिकमार्फत आफूलाई इच्छा लागेका गीत बजाउन तथा गुगललाई प्रश्न सोधी सहजै उत्तरसमेत प्राप्त गर्न सक्छन् ।
संवर्द्धित वास्तविकताको अनुभव (एआर)– होटलले उपभोक्तालाई संवर्द्धित वास्तविकता (एआर) को अभुतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ एआर एप्सहरू पनि प्रदर्शनीमा राखेको छ । प्रदर्शित एप्समा रेनो फाइझ जीको अन्तर्त्रियात्मक परिचयका साथै एआर वारड्रोब आदि छन् । एआर वारड्रोबले पाहुनालाई विभिन्न पहिरन भर्चुअल एआर रनवेमार्फत पूर्वावलोकन गर्न सघाउँछ ।
बफर रहित मनोरञ्जन सुविधा– होटलमा फाइभ जीका माध्यमबाट मुटु छुने कन्टेन्टहरू डाउनलोड, स्ट्रिम तथा हेर्ने सुविधा पनि उपलब्ध छ । बफर–फ्री नेटफ्लिक्सको मज्जा लिने वा कफी बनाउँदै आफूलाई मन पर्ने सिरिज पूरै डाउनलोड गर्ने वा होटलको फराकिलो टिभी स्क्रिनमा त्यसको मज्जा लिने सुविधा पनि उपलब्ध छ ।
४० फिटे सिपिङ कन्टेनरलाई फ्युचरिस्टिक होटलमा रूपान्तरण गरिएको फाइभ जी होटल एचओटीएको अभूतपूर्व अनुभव लिन चाहनेहरूले १ सय ५० अस्ट्रेलियन डलर खर्च गर्नुपर्ने हुन्छ । यसरी संकलित समग्र रकम स्थानिय च्यारिटीमा जाने बताइएको छ ।
म्याटब्ल्याक बाह्य सजावटलाई सुहाउँदो न्यूनतम आन्तरिक टचसहित फाइभ जी होटल, आफैंमा एउटा क्लासिक्याबिन झैँ देखिन्छ । यद्यपि त्यसभन्दा पनि बढी यसभित्र उपलब्ध गराइएका सेवा–सुविधाले यसको पहिचानलाई अझ फराकिलो बनाएको छ ।
होटलको विलासी वान बेडरुम स्विट फाइभ जी क्लाउड गेमिङ, बफररहित स्ट्रिमिङ, इमर्सिभ एआर एप्स तथा स्मार्ट मिररलगायत अत्याधुनिक स्मार्ट होम फिचर्सबाट सुसज्जित छन् । यो फाइभ जी होटलका पाहुनाहरूले एचओटीएमा ग्लो फेस्टिभल, फार्मर्स मार्केट, डान्सिङ अन द ग्रिन तथा सहरको इस्टेड फुडलगायत अस्ट्रेलियाको मौलिक तथा सर्वाधिक ठूलो परफर्मिङ आर्ट्स शोको मज्जासमेत लिन सक्छन् । कन्टेनरमा स्थापित यो मुभेबल होटल गोल्डकोस्टपछि अस्ट्रेलियाका विभिन्न सहरसम्म पुर्‍याइने बताइएको छ ।

प्रविधि

पहिलो फाइभजी स्मार्टफोन

- साप्ताहिक संवाददाता

चाइनिज कम्पनी हुवावेले पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ ।सेन्जेनमा सार्वजनिक गरिएको मेट २० एक्स स्मार्टफोन चीनमा फाइभजी लाइसेन्स प्राप्त गर्ने पहिलो स्मार्टफोन हो । यसमा २ वटा सिम प्रयोग गर्न सकिन्छ । ४० मेगापिक्सल क्यामेरा जडान गरिएको उक्त स्मार्टफोनमा ७ दशमलव २ इन्चको स्क्रिन छ । २ सय ५६ गिगाबाइट स्टोरेज क्षमता भएको यो स्मार्टफोनको मूल्य चिनियाँ बजारमा ६ हजार १ सय ९९ युआन अर्थात ९ सय १२ अमेरिकी डलर राखिएको छ । यसमा हुवावेकै किरिन ९८० चिपसेट प्रयोग भएको बताइन्छ ।

प्रविधि

हुवावेको हार्मोनी ओएस

- साप्ताहिक संवाददाता

चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएस सार्वजनिक गरेको छ । उक्त अपरेटिङ सिस्टमलाई चीनमा होङमेङ भनिए पनि यसको ग्लोबल नाम भने हार्मोनी ओएस राखिएको छ । अमेरिकी कम्पनी गुगलले एन्ड्रोइड चलाउन प्रतिबन्ध लगाएसँगै हुवावेले चीनमा सम्पन्न डेभलपर कन्फ्रेन्समा आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।
प्रतिबन्धसँगै हुवावेले अमेरिकी बजारमा आफ्ना कुनै उत्पादन बेच्न पाएको छैन । हुवावेले हार्मोनी ओएस बहु डिभाइस कनेक्ट हुने बताएको छ । यो सिस्टम स्मार्टफोन तथा अन्य होम डिभाइसमा पनि प्रयोग गर्न सकिनेछ । हार्मोनी ओएस इन्टरनेट अफ थिङ्सको एक भागका रूपमा उपलब्ध हुने कुरा बताउँदै कम्पनीले यो सिस्टम इन्टरनेटबाट चल्ने हरेक डिभाइसमा प्रयोग हुने जानकारी दिएको छ ।

प्रविधि

पट्याउन मिल्ने फोन

- साप्ताहिक संवाददाता

- डिजाइन रेन्डर्सद्वारा बाहिरतिर पट्टिने फोन प्रदर्शित
- माथिपट्टि पप–अप ‘टेलिस्कोपिक’ क्यामेरा
- समग्र डिस्प्ले वरपर स्लिम बेजल

थ्रीडी रेन्डर्समार्फत ओपोद्वारा विकसित फोल्डिङ फोन (पट्याउन मिल्ने फोन) सम्बन्धी जानकारी रेन्डर्स डब्लूआईपीओ (वर्ल्ड ईन्टेलेक्चसअल प्रोपर्टी अर्गनाइजेसन)को साइटमा उपलब्ध गराइएको छ । मोनोक्रोममा उपलब्ध उक्त थ्रीडी रेन्डर्सले बाहिरतिर पट्टिन सघाउने कन्सरटिनेड हिंजसहितको उपकरण देखाएको छ । उपकरणमा रहेको ठूलो स्क्रिन वरपरको बेजलको मात्राले यो मोडललाई पृथक् देखिन सघाएको छ । यो फोनको डिस्प्ले खुल्ला राख्दा प्रयोगकर्तालाई अझ जीवन्त स्क्रिनको अनुभव प्रदान गर्छ भने पट्याएर राख्दा यसले अझ उपयोगी उपकरणका रूपमा काम गर्छ । यो फोनमा प्राइमरी (हेर्दा डुअल झैँ देखिने) क्यामेरा प्रणालीलाई पप्–अप् मेकानिजम मार्फत लुकाएर राखिएको छ । ओपोले आफ्नो यो पट्याउन मिल्ने उपकरणका बारेमा कुनैपनि कुरा आधिकारिक रूपमा घोषणा गरिसकेको छैन । यसको मूल कारण फोन पूर्ण रूपमा तयार भैनसक्नु हो ।
स्रोत : डब्लूआईपीओ

प्रविधि

भिभो एस वान

- साप्ताहिक संवाददाता

भिभो नेपालले भिभोको नयाँ उत्पादन एस–१ नेपाली बजारमा आधिकारिक रूपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजको ट्यागलाइन ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ राखिएको छ ।भिभो एस–१ स्मार्टफोन स्क्रिन टच आईडी, सुपर एमोलेड अल्ट्रा अल स्क्रिन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामेरा, एआई ट्रिपल रियर क्यामेरा तथा स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरूसहित डायमन्ड ब्ल्याक तथा स्काईलाइन ब्लू कलर्समा उपलब्ध गराइएको छ ।
भिभो एस–१ स्टायलिस डिजाइन, स्मार्ट क्यामेरा तथा ठूलो स्क्रिनका साथमा क्लियर भिजुअल एक्सपेरियन्स एवं भरोसायोग्य पर्फमेन्सका साथ आएको दाबी गरिएको छ । भिभो एस–१ मा अल्ट्रा गेम मोड, स्क्रिन टच आईडीजस्ता थप विशेषताहरू पनि छन् ।
भिभो एस–१ मा ६ जीबी र्‍याम तथा १ सय २८ जीबीको आन्तरिक स्टोरेज (रोम) छ जसले भिडियोहरू, गीत संगीतहरू र स्टोर गर्न तस्बिरहरू संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ । पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नका लागि भिभो एस–१ मा ४ हजार ५ सय एमएएचको ब्याट्रीका साथ ड्युल इन्जिन फास्ट चार्जिङ मिडियाटेक ६ हजार ७ सय ६८ प्रोसेसर राखिएको छ । नेपाली बजारमा यो फोन ३४ हजार ६ सय ९० रुपैयाँमा उपलब्ध हुने बताइएको छ ।

Page 9
केवल एक प्रश्न

तपाईंले सबैभन्दा पहिले चढेको सवारी कुन हो ?

- साप्ताहिक संवाददाता

२०३२ सालमा आफ्नै टोयोटा गाडी चढेको थिएँ ।
किरण केसी, हास्य अभिनेता

गाउँमा हुँदा सवारी साधनका रूपमा ट्याक्टर चढेको थिएँ । पछि निजीचाहिँ टु ट्वान्टी पल्सर मोटरसाइकल ।
बिमल अधिकारी, मोडल

बाल्यकालमा सर्लाहीबाट धनुषा मामाघर जाँदा सार्वजनिक बस चढेको याद छ ।
शिव परियार, गायक


मोटरसाइकल चढेकी थिएँ ।
करिश्मा ढकाल, मोडल

सुरुमा त बस नै चढें ।
एकनारायण भण्डारी, गीतकार तथा संगीतकार

गाउँमा ट्याक्टर चढेको थिएँ ।
मुकुन भुसाल, अभिनेता

सुरुमा साइकल, त्यसपछि सार्वजनिक गाडी चढें अहिले मोटरसाइकल चढिरहेको छु ।
विशाल थापा, मोडल

आफ्नै निजी सवारी साधनका रूपमा डिओ स्कुटर ।
सृष्टि खड्का, मोडल

एसएलसी दिएपछि १ सय ५० सीसीको कालो पल्सर ।
आमेश भण्डारी, अभिनेता

कक्षा १ मा पढ्दा पहिलो पटक साइकल चढेको हुँ ।
एलिस कार्की, संगीतकार/ब्याकग्राउन्ड स्कोरर

चलचित्र ‘फाइभ डेज इन काठमाडौं’ मा काम गर्दा मेकअपमा स्पेसल इफेक्ट राम्रो बनाएको भनेर निर्माताले होन्डाको सी९० मोडल स्कोर उपहार दिएका थिए । त्यही मेरो पहिलो सवारी साधन हो ।
अमृत मरहठ्ठा, मेकअप आर्टिस्ट

पहिलो पहिलोपटक चढेको सवारी सार्वजनिक यातायात नै हो, तर आफैंले किनेर चढेको चाहिँ बजाज कम्पनीको क्यालिबर बाइक हो ।
आदित्य बुढाथोकी, निर्देशक/कलाकार

म सानो छँदा सबैभन्दा पहिले चढेको सवारी रिक्सा हो । छोटो खुट्टा भएको रिक्सा चालक दाइले सिटबाट कहिले दायाँ त कहिले बायाँ धेरै तल झरेर निकै मेहनत गर्दै रिक्सा चलाएको मलाई अहिले पनि
सम्झना छ ।
सञ्जीव पराजुली, गायक

सबैभन्दा पहिले चढेको सवारी चाहिँ बाउको ढाड हो, हट घोडा हट–हट भन्दै ।
असिम शाह, निर्देशक

घरबाट चढाईएको साधन तीनपांग्रे टोय साइकल हो । आफ्नै कमाईले चढेको चाहिँ मोटसाइकल । मैले तीनवटा ढोका भएको सेकेन्ड ह्यान्ड पजेरो पनि चढें ।
अनुराग कुँवर, कलाकार

पोखरामा छँदा सबैभन्दा पहिले ट्याक्सी चढियो । त्यहाँ पहिले–पहिले सार्वजनिक बसको जस्तै ट्याक्सीबाट पनि सेवा दिइन्थ्यो ।
वसन्त सापकोटा, संगीतकार

रत्नपार्क–भक्तपुरको जर्मन मिनीबस । आफ्नै सवारी चाहिँ हिरो होन्डा सिडी १०० एसएस (बा.४.प.८४५९) ।
अमृत सुनुवार, छाँयाकार

सायद २०४१/०४२ सालतिर हुनुपर्छ । १४–१५ वर्षको उमेरमा गाउँदेखि बजार करिब ११ किलोमिटरको बाटो थर्पुदेखि दमौली नेपाली चलचित्र ‘कान्छी’ हेर्न भनेर साथीहरूसँग ट्रकमा चढी गएका थियौं । आफूले चाहिँ किनेको छैन । २०४७/०४८ सालमा दिदी–भेनाले माउन्टेन बाइसाइकल उपहार दिनुभएको थियो । जागिर खान थालेपछि अफिसियल गाडी थियो । घरमा दाजुले किनिदिएको मोटरसाइकल थियो । त्यसैले आफैंले किनेको छैन ।
वसन्त बी थापा, गीतकार

मैले पहिलो पटक चढेको सवारी साधन कावासाकी बजाज बाइक हो ।
अनिल स्थापित, डिजाइनर

पहिलो पटक २०३५ सालमा गोरु गाडा चढे । त्यसपछि २०३६ सालमा हुड अगाडि निस्किएको चुच्चे बस चढें । त्योभन्दा अघिचाहिँ बजार जाने क्रममा आफ्नै बुवाको काँधमा चढें ।
आशान्त कर्मा, नाट्यकर्मी

मैले पहिलो पटक चढेको सवारी साधन सार्वजनिक यातायात नै हो ।
अमित श्रेष्ठ, कलाकार

ह्याप्पी बर्थ डे

३७ लागे भष्मे डन

- साप्ताहिक संवाददाता

भर्सटाइल कलाकार कार्की वि.सं. २०३९ मा मोरङको बाहुनीमा जन्मिएका हुन् । कार्की हिजो भदौ ५ गते बिहीबार ३७ वर्षमा प्रवेश गरे । रगंमञ्च हुँदै नेपाली रजतपटमा पाइला टेकेका विपिन चलचित्रमा फरक–फरक चरित्रमा प्रस्तुत हुन रुचाउँछन् । विपिनका लुट, छड्के, जात्रा, पशुपति प्रसाद, प्रसाद तथा जात्रैजात्रा चलचित्र सफल मानिन्छन् । उनी राष्ट्रिय चलचित्र पुरस्कार, डि–सिने एवार्ड, फिक्सन क्रिटिक एवार्डजस्ता पुरस्कारबाट विभूषित भैसकेका छन् । शान्त र हँसिलो स्वभावका विपिनका सम्बन्धमा उनका साथीभाइ तथा सहकर्मीहरूले साप्ताहिकमार्फत दिएको प्रतिक्रिया :

विपिन मेरो गाउँको भाइ हो । ऊ सानोमा एकदमै छुकछुके तर रमाइलो स्वभावको थियो । हामी एउटै स्कुलमा पढेको र वल्लो–पल्लो घर भएको हिसाबले पनि म उसलाई राम्रोसँग चिन्छु । उसको दाइ अर्जुन कार्की मेरो दौंतरी भएकाले सानोमा गाउँमा ऊसँग भन्दा अर्जुनसँग मेरो बढी संगत हुन्थ्यो, तर सहर आएपछि विपिन र मेरो संगत हुन थाल्यो । मेरो संगतले बिस्तारै उसको हिमचिम गुरुकुलमा बढ्दै गएपछि सुनिल पोखरेलले मन पराएर नाटकमा सानोतिनो रोल गर्न सुरु गर्‍यो । सामान्य गफगाफ र भेटघाटमै पनि धेरै कुरा सिक्ने क्षमता भएर होला, आज ऊ नाटक र चलचित्र जताततै सफल छ । मलाई विपिन आलुजस्तो लाग्छ, जोसँग पनि मिल्न सक्ने स्वभावको । मानिसहरू सफलताले मात्तिन्छन् तर विपिन दुःखमा नआत्तिने र सुखमा नमात्तिने स्वभावको छ । उसको आउँदो वर्ष अझ राम्रो होस्, मेरो प्यारो गाउँले भाइलाई जन्मदिनको अनगिन्ती शुमकामना ।
कमलमणि नेपाल, हास्यकलाकार

विपिन दाइ असाध्यै सरल हुनुहुन्छ । उहाँको कम बोल्ने बानी छ । उहाँसँग काम गर्न जो–कोहीलाई पनि रमाइलो लाग्छ । आइडियाहरू सेयर गरेर काम गर्न सजिलो बनाउनुहुन्छ । दाइबाट स–साना कुरा पनि सिक्न पाइन्छ । उहाँ काममा प्रशस्त लगाव राख्ने कलाकार हो । उहाँ भेट्ने जति सबैलाई प्रभावित पार्न सक्नुहुन्छ ।
सुरक्षा पन्त, अभिनेत्री

पशुपति प्रसादमा सँगै काम गरेपछि मैले विपिनलाई राम्रोसँग चिनेको हुँ । धेरै मानिसले उसलाई भष्मे डनका रूपमा पनि चिन्छन् । चलचित्रको एउटा क्यारेक्टरले नै कुनै कलाकार चिनिँदा धेरै खुसी लाग्छ । मलाई ऊ एकदमै भर्सटाइल लाग्छ । कामको विषयमा उसलाई केही भन्नै पर्दैन । ऊ धेरै कुरा आफैं बुझेर गर्छ । सेटमा पनि आफ्नो काम भन्दा अन्त ध्यान नदिने उसको बानी मलाई प्रिय लाग्छ ।
दीपेन्द्र के खनाल, निर्देशक

हामीले पहिलो पटक चलचित्र लुटमा सँगै काम गरेका थियौं । लुटमा विपिन सानो भूमिकामा थियो । मैले त्यो बेला नै विपिन नेपाली चलचित्र उद्योगमा सबैको हाईहाई हुन्छ भनेर कल्पना गरिसकेको थिएँ । उसले लेखक तथा निर्देशकको कन्सेप्टअनुसार काम त गर्छ नै, अझ त्यसलाई रोचक बनाउन आफ्नो तरिकाबाट विभिन्न कुरा थप्ने कामसमेत गर्छ, यो विपिनको विशेष गुण हो । उसले अझै धेरै चरित्रमा काम गर्नै बाँकी छ । समयअनुसार प्रगतिको शुभकामना विपिनलाई ।
निश्चल बस्नेत, कलाकार/निर्देशक

Page 10
संगीत

रामकृष्णको गुनासो

- साप्ताहिक संवाददाता

गायक रामकृष्ण ढकाल तथा उनकी पत्नी नीलम शाहले करिव ५ करोड रुपैयाँ ऋण नतिरेको भन्दै ललितपुरस्थित श्री लालीगुराँस सहकारीले एक दैनिक पत्रिकामा सार्वजनिक सूचना निकालेपछि गायक ढकाल सञ्चारमाध्यममा आएका छन् । गायक ढकालले ४ वर्षअघि नै उक्त ऋण सल्टाइसकेकाले अहिले आएर पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको गुनासो गरेका छन् । सूचनामा ‘ऋण तिर्न आउनू’ भन्ने खालको सन्देश छैन । उक्त मुद्दामा अदालतबाट ऋण तिर्न बाँकी नरहेको फैसलासमेत भैसकेको गायक ढकालको जिकिर छ । गायक ढकालकी श्रीमती नीलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट १ करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि २०७० सालमा सहकारीले धितोमा राखिएको घर १ करोड ५० लाख रुपैयाँमा लिलाम गरेको बताइए पनि सहकारीको सूचनाअनुसार ढकालका नाममा अहिले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ तथा उनकी श्रीमती नीलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण देखिन्छ ।

संगीत

काठमाडौंमा नेहाका दाइ

- साप्ताहिक संवाददाता

बलिउडका स्थापित गायक तथा संगीतकार टोनी कक्करले काठमाडौंमा लाइभ कन्सर्ट दिने भएका छन् । गायिका नेहा कक्करका दाइ टोनी लामो समयदेखि बलिउडमा संगीतकर्मीका रूपमा सक्रिय छन् । उनले गायिका नेहाका लागि समेत थुप्रै लोकप्रिय गीत तयार पारेका छन् । रिबन इन्टरटेन्मेन्टले टोनीलाई सेप्टेम्बर (२० असोज ३ गते, शुक्रवार) दिन काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । काठमाडौंको ठमेलस्थित फरेनहाइट क्लबमा सञ्चालन हुने लाइभ कन्सर्टमा टोनीले आफ्नो सात जना संगीतकर्मीको ब्यान्डसँगै लाइभ प्रस्तुत दिनेछन् । आयोजक संस्थाका दिपेन बस्नेतका अनुसार उक्त कन्सर्टमा टोनीले आफ्ना दुई दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्नेछन् ।

संगीत

पार्श्व गायनमा आयुष

- साप्ताहिक संवाददाता

गायनमा आधारित एक भारतीय रियालिटी शोपछि चर्चामा रहेका गायक आयुष केसी नेपाली चलचित्रको पार्श्व गायनमा आएका छन् । केसीले स्वरबद्ध गरेको चलचित्र हजार जुनीसम्मको शीर्ष गीत दर्शक तथा श्रोताहरूले मन पराएका छन् । यसअघि गायक उदय सोताङको स्वरमा रेकर्ड भैसकेको उक्त गीत पुनः एरेञ्ज गरेपछि गायक केसीले गाएका हुन् । चलचित्रमा आयुष र उदय दुबैको स्वरको गीत समावेश छ । आयुषले बाल कलाकार अनुभव रेग्मीका लागि पार्श्व गायन गरेका हुन् । उक्त गीतमा योगेन्द्र घतानीको संगीत छ भने शब्द पवन चाम्लिङले रचना गरेका हुन् । हाल प्रदर्शनमा रहेको यो चलचित्रको शीर्षक गीत गाएपछि गायक केसीका लागि पार्श्व गायनको बाटो खोलिएको बताइन्छ । यतिबेला उनलाई अन्य चलचित्रबाट समेत पार्श्व गायनको प्रस्ताव आउन थालेको छ ।

संगीत

योञ्जनको सम्झनामा

- साप्ताहिक संवाददाता

यो वर्षको गोपाल योञ्जन संगीत स्मृति पुरस्कार गायक प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । संगीतकार गोपाल योञ्जनको ७६ औं जन्मजयन्तीका अवसरमा हालै शुभारम्भ द म्युजिकल जर्नीले आयोजना गरेको कार्यक्रममा गायक श्रेष्ठलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा गायक श्रेष्ठले संगीतकार गोपाल योञ्जनका विभिन्न गीत सुनाएका थिए । लामो समयदेखि नेपाली संगीतमा सक्रिय रहेर यस क्षेत्रको विकासमा योगदान पुर्‍याएबापत गायक श्रेष्ठलाई पुरस्कृत गरिएको बताइएको छ । पुरस्कार ग्रहण गर्दै गायक श्रेष्ठले संगीतकार योञ्जनसँगको सहकार्यको अनुभव सुनाए । समारोहमा शैलेश सिंह, प्राश्ना शाक्य, कविता बराईली, अभिश्री कास्प्य, समान्ता थापा, आयुष्मान विष्ट, मथुरा प्रधान, प्रवीन शाही आदि गायक–गायिकाले गोपाल योञ्जनका लोकप्रिय गीतहरू सुनाएका थिए ।

संगीत

गण्डकी स्टार

- साप्ताहिक संवाददाता

गायन विधाको गण्डकी स्टार–२०७६ को उपाधि रोशन गुरुङले जितेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाहल गैरापाटनमा भएको फाइनलमा १६ जनामध्ये ज्योति गौचन फस्ट रनर्सअप तथा निशा थारु सेकेन्ड रनर्सअप घोषित भएका थिए । यो प्रतियोगिताको अडिसनमा सहभागीहरूमध्येबाट ४० जनालाई छनौट गरी विभिन्न चरणमार्फत उत्कृष्ट १६ छनौट गरेर फाइनलमा उतारिएको बताइएको छ ।

Page 11
युट्युब ट्रेन्डिङ

युट्युब : भ्यूज र ट्रेन्डिङको तमासा

- नेमिष गौतम

आफूलाई युट्युबरेका रूपमा स्थापित गराएका केही युवाहरू भने अहिले सामाजिक काममा समेत सक्रिय छन् । नयाँ–नयाँ न्यूज नेपाल, तात्तातो खबरलगायतका केही युट्युब च्यानल मनोरञ्जनका कार्यक्रमसँगै सामाजिक गतिविधिमा समेत सक्रिय छन् । नयाँ–नयाँ न्यूज च्यानलका सञ्चालक शिशिर भण्डारी आफ्नो च्यानलमार्फत काठमाडौंको सडकमा सारंगी बजाउँदै हिड्ने बालक जनक गन्धर्वलाई विद्यालय पढाउनेदेखि लिएर अशक्त र पैसाको अभावमा ज्यान जोखिममा पारेकाहरूको उद्धारमा पनि सक्रिय छन् । उनकै प्रयासमा दुवै हात गुमाएका कृष्ण ओलीलाई ३८ लाखसहित मेघा घिमिरे, बुद्धिमान कुँवरलगायतलाई ५० लाख माथिको सहयोग, ब्लड मनीको अभावमा नेपाल आउन नपाएका विनोद रानाभाटलाई ८२ लाख आर्थिक सहयोग जुटेको छ । ॅहामीप्रति दर्शकको विश्वास छ । आम दर्शकमाझ यो मान्छेले पक्का सहयोग गर्छ है भन्ने छाप छोडेका छौं । उनीहरूको विश्वास तोडेका छैनौं’, शिशिर भन्छन्,ॅहामी सामाजिक विषयवस्तु, उत्प्रेरक कामजस्ता विषय खोजी–खोजी प्रसारण गर्छौ ।’ यही क्रममा फिल्मी कुरा टिभीका सञ्चालक श्यामहरि शिवभक्तिको पहलमा धादिङ चरौदीस्थित त्रिशूली नदी किनारमा २० वर्षदेखि तुइँन तान्दै आएका शुक्रबहादुर तामाङको घर निर्माण गरिएको छ । धादिङ रोराङ गाउँपालिका वडा नम्बर–७ मा निर्मित उक्त घर केही समयअघि मात्र कलाकार अर्जुन घिमिरे, कुमार कट्टेल आदिले हस्तान्तरण गरेका थिए ।


अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र हजार जुनीसम्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पारिश्रमिकको विषयमा बोल्दा त्यो मनोरञ्जनसम्बन्धी युट्युब च्यानल तथा अनलाइन सञ्चारमाध्यममा प्रमुख समाचार बन्यो । आफु युट्युब र अनलाइनमा छाएपछि एक पत्रिकालाई उनले ‘युट्युबरलाई पत्रकार मान्दिनँ’ भनेर अन्तर्वार्ता नै दिइन् ।
चलचित्र वृत्तमा अहिले पनि विषय भनेको निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको झगडा पनि हो । निर्माता ओझाले आफूलाई कानको जाली फुट्ने गरी कुटेको बताएपछि शिल्पा युट्युबमा राम्रैसँग छाइन् । युट्युबरेहरूले छवि र शिल्पाको झगडाको विषयलाई उनीहरूसँग सरोकार नै नराख्ने अन्य चलचित्रकर्मीसँग प्रश्न सोध्ने माध्यम बनाए । यो क्रम अहिले पनि जारी नै छ, जसबाट आजित भएर करिश्मा मानन्धरले छवि र शिल्पाका बारेमा आफूसँग प्रश्न नगर्न अनुरोध गर्दै फेसबुक स्टाटस नै लेखिन् ।
चलचित्र वीरविक्रम–२ को समीक्षाका नाममा चलचित्र हेर्न प्रोत्साहन नगरेको, चलचित्रमा काम गर्ने कलाकारहरूको मानमर्दन गरेको आरोपमा मिम नेपालका स्टेन्डअप कमेडियन प्रनेश गौतम पक्राउ परे । चलचित्रका निर्देशक मिलन चाम्सले प्रनेशको क्रियाकलापले विद्युत्तीय कारोबार ऐन उल्लंघन गरेको आरोप लगाएपछि प्रहरीले गौतमलाई पक्राउ गरेको थियो । प्रनेश जेठ २४ गते पक्राउ परेर असार १ गते तारिखमा छुटे पनि चलचित्रकर्मीहरूलाई प्रनेशको जस्तै घटना दोहोरिने हो कि भन्ने चिन्ता निरन्तर छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाकी ६० वर्षीया सावित्री भट्टराईको आफ्नै विवाहित छोरी ईश्वरीका प्रेमी भारतीय नागरिक मोहम्मद नौसादको समूहले हत्या गरेपछि उक्त घटना युट्युबमा राम्रैसँग छायो । सावित्रीको हत्यापछि युट्युबरहरूको तनावचाहिँ अभिनेता सोनाम थापा मगरले व्यहोर्नुपर्‍यो । सोनाम इश्वरीका पति हुन् । आफू अभिनीत चलचित्र असार १० गते रिलिज हुने तयारी भैरहेका बेला सोनामले युट्युबरेहरूकै कारण चलचित्रको प्रचार राम्रोसँग गर्न पाएनन् । युट्युबरेहरूले चलचित्रको विषयवस्तुको साटो सावित्री हत्या प्रकरणमा प्रश्न सोध्न थालेपछि उनी केही समय युट्युब च्यानलहरूको सम्पर्कमै आएनन् ।
माथिका घटना केही उदाहरण मात्र हुन् । नेपालमा युट्युब च्यानलको संख्या ह्वात्तै बढेसँगै मनोरञ्जन, राजनीति, सामाजिक आदि क्षेत्रमा युट्युबरेहरूको ‘अराजकता’ समेत बढेको छ । मनोरञ्जनको क्षेत्रमा कार्यरत युट्यब च्यानलहरू भ्यूज बढाउन र ट्रेन्डिङमा आउन सेलिब्रेटीका हरेक गतिविधिलाई आफ्नो क्यामेरामा कैद गर्न दौडधूप अनि तँछाडमछाड गर्छन् । त्यस्तो दौडधूपको क्रम सेलिब्रेटीको सयन कक्ष, किचनदेखि एयरपोर्टको ढोकासम्म पुग्छ । कलाकारको जन्मदिनमा मध्यरातको १२ बजे उनीहरूको घरसम्म पुग्नेदेखि लिएर उनीहरूले आयोजना गर्ने पारिवारिक जमघटमा पनि पुगेर क्यामेर तेर्स्याउन पछि पर्दैनन् उनीहरू । अन्तर्वार्ताको भिडियो हेर्दा कतिपय सेलिब्रेटीको अनुहारमा ‘दिग्दारीपन’ प्रस्ट देखिन्छ भने कतिपय सेलिब्रेटी भने खुसीले पुलकितसमेत पाइन्छन् ।
युट्युबरेहरूले कुनै घटना, कार्यक्रम तथा अन्तर्वार्ताको थम्बनेल शीर्षक राख्दा त्यसको शीर्षकले नै दर्शकहरूलाई अन्यौलग्रस्त बनाइदिन्छन् । उनीहरूको भिडियोको शीर्षक नै प्रायशः ‘हँसाएरै मारे’, ‘खुल्यो यस्तो रहस्य’, ‘डरलाग्दो घटना’, ‘हेरिसकेपछि सेयर गर्नुहोला’, ‘हेर्नुभएन भने पछुताउनुहुनेछ’ आदि हुन्छ । अझ रोचक कुरा त कतिपय युट्युबरे आफै विशेषज्ञ रूपमा प्रस्तुत हुन्छन् । विषयवस्तुको पूर्वअध्ययन गरेर सम्बन्धित विषयको समाचार बनाए त ठिकै हो, तर अधिकांशले विषयवस्तुको पूर्वअध्ययनबिना नै आफु खुशी प्रश्न गर्ने र आफैं विशेषज्ञका रूपमा प्रस्तुत हुने कुरा सामान्य भैसकेको छ ।
रमाइलो कुरा के छ भने अधिकांश युट्युब च्यानल भ्यूज बढाउने र ट्रेन्डिङमा आउने प्रतिस्पर्धामै केन्द्रित छन् । आफ्नो च्यानलको विषयवस्तु ट्रेन्डिङमा आउनासाथ फेसबुकमा त्यसलाई स्क्रिनसट गरी खुसी व्यक्त गर्ने चलनसमेत छ । ट्रेन्डिङमा आएपछि युट््युबको सब्सक्राइभ बढ्ने भएकाले जस्तोसुकै समाचारलाई पनि आकर्षक र बिकाउ किसिमको शीर्षक राखेर अपलोड गर्ने चलन पनि सामान्यजस्तै हुँदैछ ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो कलाकारिताको करियरमा युट्युबरेहरूबाट पीडित भएको अनुभव त गर्न पाएकी छैनन्, तर त्यस्तो अवस्था नआओस् भन्नेमा उनी पनि सचेत छिन् । दीपाश्रीको बुझाइमा सेलिब्रेटीहरू युट्युबमा अन्तर्वार्ता दिन हच्किन थालेका छन् । ‘कलाकारहरू वार्ताको विषयभन्दा पनि कुन युट्युब च्यानल हो भनेर सोधी खोजी गर्न थालेका छन् । त्यो च्यानलको सब्सक्राइभ, फलोअर्स र आधिकारिक अनलाइन हो–होइन भन्नेमा ध्यान दिइरहेका छन्’, दीपाश्री भन्छिन्, ‘कसले कति डलर कमाउँछ भन्ने प्रतिष्पर्धाले गर्दा सेलिब्रेटीको अन्तर्वार्ता लिन तँछाडमछाड हुन थालेपछि कलाकारहरू यसरी हच्किन थालेका हुन् । हामीले यस्ता समाचारका कारण धेरै मानिस घर–परिवारबाट विस्थापित भएको देखेका–सुनेका छौं । त्यस्तो स्थिति हामीकहाँ नआओस् ।’
दीपाश्रीको बुझाइमा अहिले मानिसमा राक्षसी प्रवृत्ति बढ्दै गएको छ । ‘सृष्टिकर्ताले मानिसलाई बुझ्न सक्ने देवगण बनून् भनेर पठाएका हुन्, तर हामी आफैं राक्षस हुँदै गएका छौं’, दीपाश्री खुल्छिन्, ‘समाचारको शीर्षक मात्र पढ्ने दर्शकलाई त बुझ्न निकै सकस हुन्छ । हामी बुझ्ने मान्छेलाई त सकस भएको छ भने अनपढ व्यक्तिहरूलाई कत्तिको गाह्रो होला ?’
टेलिभिजन हुँदै अनलाइन पत्रकारितामा सक्रिय चलचित्र पत्रकार जीवन पराजुली ठूलोपर्दा डटकम चलाउँछन् । तीन वर्षयता ठूलो पर्दा टिभी नामक युट्युब च्यानल चलाइरहेका पराजुली एक वर्ष यता युट्युब पत्रकारिताका नाममा भैरहेका गतिविधि देखेर आजित छन् । ‘युट्युब आम्दानी गर्ने एउटा राम्रो प्लेटफर्म हो, तर नेपालमा पैसा आउँछ भनेर नै समाजमा भ्रम फैलाउने गतिविधि भैरहेको छ । धन आर्जन गर्ने नाममा समाजलाई कता लगिरहिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यहाँ त आफूले राखेको भिडियो कन्टेन्टले कसलाई कस्तो असर गरेको छ भन्ने कुरा पनि हेरिँदैन्’, जीवन भन्छन्, ‘चलचित्रकै कुरा गर्दा पनि कलाकारले बोलेका स–साना कुरालाई ठूलो बनाउनेदेखि लिएर अफवाह फैलाउनेसम्मको गतिविधि बढ्दो छ । जसरी भए पनि आफ्नो भिडियोलाई हिट बनाउनुपर्छ र ट्रेन्डिङमा ल्याउनुपर्छ भन्ने प्रतिस्पर्धा छ । छवि ओझा र शिल्पा पोखरेलको विषयमा पनि उनीहरू जेल गैसकेसम्मको हुँदै नभएको कुरालाई जेलको चित्र बनाएर युट्युबको थम्बनेलमा राखियो । त्यसकारण पनि अहिले युट्युबका भिडियोको विश्वसनीयतामा ह्रास आएको छ ।’ पराजुलीले केही अनलाइन पत्रकारले पनि पत्रकारिताको मर्यादा बिर्सिएको दाबी गरे । जीवनले मिडिया दर्ता नै नभई युट्युब सञ्चालन गरिने भएकाले समस्या बढ्दै गएको कुरा पनि बताए ।

Page 12
फेसन शो

मनसुन फेसन

- साप्ताहिक संवाददाता

मनसुन उत्तराद्धमा छ अर्थात् मनसुन सकिने क्रममा छ । यही मौकाको सदुपयोग गर्दै गत शनिबार ललितपुरमा मनसुन फेसन शो–२०१९ सम्पन्न भएको छ । लबिम मलको भुईं तल्लामा आयोजित उक्त फेसन शोका प्रायः सबै सिक्वेन्समा मनसुन वेयर प्रदर्शन गरिएको थियो । १६ वटा सिक्वेन्समा विभाजित यो फेसन शोमा ८ जना पुरुष, १२ जना महिला तथा ८ जना बाल मोडलले आकर्षक पहिरनहरू प्रदर्शन गरेका थिए । लबिल मलमै रहेका ब्रान्डेड फेसन शो रुमहरूका मनसुन वेयर प्रदर्शित यो फेसन शोको कोरियोग्राफी आयुषी शाहले गरेकी थिइन् । विकास खतिवडाद्वारा संयोजित उक्त फेसन शोमा प्रो मोडल नेपालका मोडलहरू सहभागी थिए ।

 

फेसन शो

तायःमचा नृत्य प्रतियोगिता

- राजाराम पौडेल

पोखरामा आयोजित तायःमचा नृत्य प्रतियोगिताको उपाधि भीमसेनटोल तायःमचा समितिले जितेको छ । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिति पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा तेर्सापट्टी तायःमचा समिति द्वितीय तथा नयाँ बजार तायःमचा समिति तृतीय भए । यसैगरी महिला टोलीको उपाधि बागवजार कचाः खलको हातमा पर्‍यो भने उत्कृष्ट ख्यालीमा रानीपौवा, उत्कृष्ट वाद्यवादनमा कुँडहर, उत्कृष्ट परीमा मोहोरियाटोल तथा उत्कृष्ट जोकरमा भिमसेनटोल
विजेता रहे ।
गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगितामा पोखराका विभिन्न टोलका ३० वटा समूहले प्रतिस्पर्धा जनाएका थिए जसमध्ये ६ महिला समूह थिए । यो महोत्सवको आकर्षण नेवारी सांस्कृतिक नृत्य, बाजा तथा सांस्कृतिक कार्यक्रम, लक्ष्य ब्यान्ड, तन्त्र ब्यान्ड तथा देउराली ब्यान्डको प्रस्तुतिसहित चेतनामूलकमूलक सांस्कृतिक फेसन शो आदि पनि रहे ।

फेसन शो

रेन्बो कन्सर्ट

- युवराज गौतम

समलिङ्गीहरूले यसपालिको गाईजात्रा पर्व भिन्न रूपले मनाएका छन् । देशभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रोलिङ्गी तथा समलिङ्गी) समुदायले काठमाडौंमा गत शुक्रबार गाईजात्रे र्‍याली निकाले भने टुँडिखेलमा पहिलो पटक ‘रेन्बो कन्सर्ट’ को आयोजनासमेत गरे । ‘मेरो पर्व–मेरो गर्व’ नारा बोकेको उक्त कार्यक्रमको विशेषता नेपाली ब्यान्ड बाजा, नेवारी धुनका साथै अन्य जातीय संगीत पनि थिए ।
नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफूहरू फरक पहिचान भए पनि समाजकै सदस्य भएका कारण पर्वमा सहभागी भएको र समाजले नराम्रो दृष्टिले नहेरोस् भन्ने चाहनास्वरुप १६ औं पटक गाईजात्रा पर्व मनाएको बताइन् । कार्यक्रममा नेपालका लागि अमेरिकन राजदूत र्‍यान्डी बेरी तथा अस्ट्रेलिएन राजदूत पिटर वडेले नेपालका तेस्रोलिंगीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाएकोमा गर्व महसुस गरेको बताए ।
टुँडिखेलको उक्त कन्सर्टमा नायिका पिंयका कार्कीले तेस्रोलिङ्गी तथा समलिङ्गीहरूका बारेमा आफूले बेभ मूभी निर्माण गरिरहेको बताइन् भने पूर्व मिस नेपाल माल्भिका सुब्बाले तेस्रोलिंगी समुदायसँग समान व्यवहार गर्न आग्रह गरिन । चर्चित ब्लगर लेक्स लिम्बुले तेस्रोलिङ्गीहरू समाजमा समान हैसियत राख्ने व्यक्ति भएकाले विभेद गर्न नहुने जिकिर गरे । उक्त अवसरमा गायक दीपक लिम्बू, हेमन्त शर्मा, मन्जु पौडेल, सविन लिम्बु, सपन श्रेष्ठ आदिले आ–आफ्ना गीत सुनाएका थिए ।

फेसन शो

रेड कार्पेटका लागि तेन्जिङ

- सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : सुदेश महर्जन

गैरीधारास्थित लस स्को बारमा फेसन डिजाइनर तेन्जिङ स्टेसन भुटियाले दिवाज नाइटअन्तर्गत फेसन शो प्रस्तुत गरे । उक्त शो नेपाली सेलिब्रेटीहरूले रेड कार्पेटमा हिँड्दा के–कस्ता पहिरन लगाउनु उपयुक्त हुन्छ र कसरी तयारी गर्नुपर्छ भन्ने थिममा आधारित थियो भने मोडल सिर्जना रेग्मी, परमिता आरएल राणा, सुस्मिता थापा तथा सेलिशा श्रेष्ठले ती डिजाइनलाई र्‍याम्पमा प्रस्तुत गरेका थिए । रेड कार्पेटका लागि नै डिजाइन गरिएकाले ती पहिरन नर्मल डिजाइनभन्दा फरक रहे । बटरफ्लाई, बो प्याच, हाई बो ड्रेसहरू ब्ल्याक, ह्वाइट, ब्ल्यू तथा लाइट पिंक कलरलाई बेस बनाई तयारी गरिएका पहिरन फेसन शोमा प्रदर्शन गरिएको डिजाइनर तेन्जिङ बताउँछन् ।

Page 14
विकेन्ड रिसोर्ट

मनोरम सिलौटी

- साप्ताहिक संवाददाता

काठमाडौंबाट नजिकैको दूरीमा प्राकृतिक सुन्दरताको आनन्द लिन सकिने रिसोर्टको खोजीमा हुनुहुन्छ भने ललितपुरको नखीपोटस्थित कान्तिपुर कोलोनीसँगैको सिलौटी रिसोर्ट उपयुक्त गन्तव्य हुन सक्छ । नख्खुखोलाको किनारैमा अवस्थित यो रिसोर्टबाट चम्पादेवी तथा चन्द्रागिरीको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । पाँच वर्षअघि सञ्चालनमा आएको सिलौटी ४ रोपनीमा फैलिएको छ । सानो चिताकर्षक म्युजियमजस्तो देखिने सिलौटीमा फलफूलका बोट–बिरुवादेखि लिएर विभिन्न चराचुरुंगीसम्म हेर्न पाइन्छ । ९ वटा सुविधासम्पन्न कोठा, १ सय ५० जना अट्ने सेमिनार हल, बार, कफी सप, बालबालिकाहरूका लागि किड्स गार्डेन तथा लाइभ फिसिङ यहाँका विशेषता हुन् । बंगुरको सेकुवा, झानेको मम, टर्कीको मासु, फिस तावा, फिस स्टीमका साथै सस्तो र मीठो थाली यो रिसोर्टका प्रमुख परिकार हुन् । ‘लोभलाग्दो भूबनोट, चराचुरुंगी, स्वीमिङ पुल, लाइभ फिसिङ सबैका कारण रिसोर्टमा युनिक अनुभव हुन्छ,’ सञ्चालक कविन न्याछ्यौं भन्छन्, ‘साउना स्टिम, ज्याकुजी तथा जिम हलको सुविधा पनि छ ।’ रिसोर्टले अर्डरअनुसार लोकल कुखुरा, सी फुड तथा ढिडोको व्यवस्था समेत गर्दै आएको छ । ‘हाम्रो रिसोर्टको प्रमुख विशेषता सस्तो र मिठो खानाका साथै मनोरम पारिवारिक एवं प्राकृतिक वातावरण हो,’ सञ्चालक मदनबहादुर लिम्बू भन्छन् । लिम्बूका अनुसार यो रिसोर्टले चार छाक खाना १२ देखि १३ सयमै सर्व गर्छ भने कोठाको मुल्य पनि १२ देखि १५ सय मात्र छ । काठमाडौं नजिकै रहेकाले यो रिसोर्ट कपल स्टे, नाइट स्टे, विवाह र बर्थ डेका लागि उपयुक्त गन्तव्य हुन सक्छ ।

विकेन्ड लाइभ

डिजे पिक्सजी ठमेलमा

- साप्ताहिक संवाददाता

ठमेलस्थित इबिजा लाउन्ज एन्ड बारले अस्ट्रेलियन डिजे पिक्सजीलाई प्रस्तुत गर्दैछ । चर्चित डिजे पिक्सजीले आज शुक्रबार साँझ ७ बजेदेखि भोलि बिहान ४ बजेसम्म ठमेलको वातावरण तताउने छिन् ।

विकेन्ड सम्मान

एलपी जोशीलाई सलाम

- साप्ताहिक संवाददाता

रेडियो कान्तिपुरको मासिक सांगीतिक कार्यक्रम ‘सलाम ज्यूँदो इतिहासलाई’ को यो महिनाको कार्यक्रममा पुराना संगीतकर्मी लक्ष्मीप्रसाद (एलपी) जोशीलाई सलाम गरिने भएको छ । भोलि शनिबार बिहान रेडियो कान्तिपुरबाट बिहान ८ बजेदेखि १२ बजेसम्म प्रसारण हुने उक्त कार्यक्रमका क्रममा संगीतकर्मी जोशीलाई सम्मान गरिनुका साथै उनका लोकप्रिय गीतहरूसमेत प्रस्तुत गरिनेछ । प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रममा संगीतकर्मी जोशीका गीत प्राश्ना शाक्य, विधान श्रेष्ठ, रुपक डोटेल तथा योगेन्द्र उपाध्याय निरौलाले प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रम कान्तिपुर रेडियोको फेसबुकबाट समेत लाइभ हुनेछ ।

विकेन्ड टेस्ट

नारायणगढको खास स्वादिष्ट तास

- रमेशकुमार पौडेल

तीन दशकअघि चितवनबाट सुरु भएको ‘तास’ अहिले नेपालका धेरै क्षेत्रमा फैलिसकेको छ । जिल्लाको व्यस्त बजार नारायणगढमा ‘तास’ बेच्ने रेस्टुराँ प्रशस्तै छन् । सहिद चोकको ‘भेटघाट रेस्टुराँ’ले तास बेच्न थालेकै ३० वर्ष भयो । सञ्चालक गोविन्द तिवारी यो परिकारको नाम तास नै आफूले जुराएको दाबी गर्छन् । कास्की लेखनाथबाट बसाइँ सरेका तिवारीले वि.सं. २०४४ साल बैशाखदेखि सहिदचोकमा ‘तास’ बेच्न थालेका हुन् । उनले पहिलो दिन पाँच किलो मासु बेचे । एक प्लेट तासको ८ रुपैयाँ लिन्थे, अहिले २ सय ७० रुपैयाँ पर्छ । ‘कास्कीबाट चितवन आएर सुरुमा किराना व्यापार गरेका तिवारीले किराना व्यापार जम्न नसकेपछि केही नयाँ गर्ने योजना बनाए । त्यतिबेला खाजाका लागि मासुको झोल र भुटुवाबाहेक अरू परिकार उपलब्ध थिएनन् । सेकुवा खासै चल्तीमा थिएन । मासुमा मसलाको सुगन्ध थपेर नौलो परिकार बनाउने धुनमा उनले एक वर्ष बिताए । ‘अनेक थरी मसला तयार गरेँ । ति मसला चाख्दा कहिले जिब्रो खुइलियो, कहिले तर्कुले खुइलियो । पखला चल्यो, ज्वरो पनि आयो’ तिवारीले परीक्षणकालको कथा सुनाए ।
मसलाको परीक्षण सफल भएपछि तिवारीले तीन किलो मासु ल्याए । मसलामा मोलेर केही घण्टा भिज्न छाडिदिए । मज्जाले भुटेपछि साथीहरूलाई बोलाएर चखाए । उनीहरूले निकै मिठो मानेर खाएपछि त्यही परिकार उनले ४४ सालको वैशाख १६ गतेदेखि बेच्न थालेका हुन् ।
‘हामी जिवन चलाउनै धौ–धौ अवस्थामा पुगेका थियौं । तास पसलले सहज बनायो । तिवारीका तीन सन्तानमध्ये छोरी र कान्छा छोरा चिकित्सक छन् । जेठा छोराले एमबीए गरेर भरतपुरमै नेपालकै ठुलो फनपार्क सञ्चालनमा ल्याएका छन् । यो सबै तासकै बलमा सम्भव भएको हो’ तिवारी भन्छन् । तासमा उनी १७ थरी मसला मिसाउँछन् । मसला मोलेर मासुलाई चार घण्टा फ्रिजमा राख्छन् । त्यसपछि ठूलो तावामा तातेको तेलमा मज्जाले भुटेपछि तास तयार हुन्छ ।
भुटेर रातो भएको मासु तथा १७ थरी मसलाको सुगन्धमा ग्राहकहरू लोभिने गरेका छन् । भुजामाथि भुटेको मसलाको थोरै भाग हुन्छ् । मसलामा भुजा मोल्दै मासु र अचारसँग खाँदा प्लेट रित्तिन बेर लाग्दैन । मुलाको चानालाई टमाटारमा पकाएर तयार गरिएको अचार पनि धेरैलाई नौलो लाग्ने गरेको छ । भेटघाटका साथै अहिले नारायणगढमा संगम, मामा, साइनो, कर्मा, पोखरा, ढकाल तथा जमघट जस्ता रेष्टुराँ पनि तासका लागि प्रशिद्ध छन् ।
भेटघाटमा १० वर्ष काम गरेका कृष्णप्रसाद भट्टले ६२ सालको चैतमा जमघट खोले । तासका बारेमा भट्टको पनि आफ्नै ब्याख्या छ । ‘खेल्ने तासमा चार थरी पत्ती हुन्छ, हुकुम, इँटा, पान र चिडी । हाम्रो तासमा पनि भुटेको मासुसँगै सलाद, अचार र भुजा हुन्छ । ‘काम खोज्दै नवलपुरको दलदलेबाट नारायणगढ छिरेको हुँ । महिनाको ६ सय रुपैयाँमा भेटघाटमा काम सुरु गरे । त्यहाँ १० वर्ष काम गरेर छाड्ने बेलामा तलब आठ हजार पुगेको थियो । त्यसपछि आफैंले रेस्टुराँ चलाए । भरतपुरमा घर–घडेरी छ । साथीहरू मिलेर एउटा होटल पनि खोल्दैछौं । भट्ट होटल संघ चितवनका उपाध्यक्ष पनि हुन् ।
नारायणगढमा तास मात्र बेच्ने होटल १५/२० वटा भए पनि विविध परिकार बेच्ने अन्य रेस्टुराँको मेनुमा पनि तास अनिवार्य हुने भट्टले बताए ।

Page 15
चलचित्र

मायाको खोजीमा हजार जुनीसम्म

- साप्ताहिक संवाददाता

गायक उदय सोताङको गीत ‘हजार जुनीसम्म खोजी बसें तिमीलाई’ नेपाली सांगीतिक क्षेत्रमा सदावहार मानिन्छ । आफ्नी प्रेमिकाको खोजीका लागि प्रेमीले गरेको त्यागको मर्म समेटिएको यही गीतको शीर्षक लिएर चलचित्र ‘हजार जुनीसम्म’ निर्माण भएको छ । गत साताबाट प्रदर्शनमा आएको यो चलचित्र यतिबेला थिएटरमा चलिरहेको छ । चलचित्रले गीतको मर्मजस्तै झन्डै १४ वर्षदेखि अलग भएकी ‘माया’ नामकी एक प्रेमिकालाई भेट्ने उनको प्रेमी ‘सिद्धान्त क्षेत्री’को चाहना प्रस्तुत गरेको छ ।
चलचित्रको कथा प्रमुख पात्र आर्यन सिग्देल उर्फ सिद्धान्तबाट सुरु हुन्छ । युवावस्थामा गायनमा रुचि राख्ने सिद्धान्त चलचित्र सुरु हुँदा केश र दार्‍ही–जुँगा फुलेको लुक्समा देखिन्छन् । संगीतको सोखकै कारण उनले पोखरामा गीतार पसल खोलेका छन् जहाँ उनको भेट अवन्तिका अर्थात् स्वस्तिमा खड्कासँग हुन्छ । स्वस्तिमा गीतारको तार बनाउन त्यहाँ पुग्छिन् । आर्यनले अवन्तिकालाई गीतार ठीकै छ भने पनि आर्यनको खोकीबाट स्वस्तिमा डराउँछिन् । १४ वर्षदेखि प्रेमिकाबाट अलग्गिएका आर्यन उनकै पीरमा मदिरा र चुरोटको अम्मली भएका हुन्छन् ।
आर्यनका छोरा अभिषेक प्रधान अर्थात् आर्थव कलेज पढ्छन् । उनी नेपालबाहिर जानुपर्ने भएपछि पासपोर्ट बनाउन बुवाको नागरिकता माग्छन् । आर्यनले दराजमा नागरिकता र अन्य कागजात रहेको बताएपछि आर्थवले दराजबाट नागरिकता लिन्छन्, तर आर्यनले नागरिकताबाहेक अरू केही पनि नचलाउनु भनेकाले आर्थवले खुलदुलीपूर्वक त्यहाँ भएका सबै सामान हेर्छन् जहाँ उनले माया अर्थात् प्रियंका कार्कीसँग जोडिएका सामग्री पाउँछन् । ती सामग्रीका बारेमा चासो दिएपछि आर्थवले आर्यनसँग सबै कुरा जान्न खोज्छन् । आर्यनले मायासँग सिक्किममा नौ दिनमा माया बसेको कुरा खुलाएपछि आर्थवले आर्यनलाई सिक्किम पुर्‍याउने निर्णय लिन्छन् जसमा उनलाई आर्थवका साथी सलोन बस्नेतले साथ दिन्छन् ।
पोखराबाट सिक्किम पुगेपछि आर्यनको मायासँगको भेट र उनीसँग मौलाएको नौ दिने प्रेमसम्बन्धको पोको खुल्दै जान्छ । गीत गाउन रुचाउने आर्यनको रेस्टुराँमा माया अर्थात् प्रियंका कार्कीसँगको भेट, उनले रचना गरेको गीत ‘हजार जुनीसम्म’ गाउन नसकेको बताएपछि प्रियंकाले गीत गाएको दृश्य, यही बीचमा मौलाएको उनीहरूको प्रेम र आर्यन एल्बम निकाल्न पोखरा आउनुपर्दाको दृश्य आर्यनले सम्झिएपछि उनीहरूको प्रेमकथा छर्लंग हुन्छ ।
आर्यन र प्रियंकाको प्रेमका बारेमा जानकार सञ्चिता लुइँटेल भने उनीहरूको प्रेम रुचाउँदिनन् । सिक्किममै बस्ने सञ्चितालाई एक नेपाली युवाले गर्भवती बनाएर हिँडेपछि प्रियंकाले पनि त्यस्तै धोका पाउलिन् भन्ने उनलाई डर छ । १४ वर्षपछि मायालाई खोज्दै सिक्किम आएका आर्यनलाई भेट्दा सञ्चिताले त्यही रिस पोख्छिन् । आर्यनले आफूलाई दिपंकर भन्ने व्यक्तिले प्रियंकाको विवाहको कार्ड ल्याएर दिएको बताएपछि सञ्चिताले पनि दिपंकरले नै प्रियंकाको विवाहको कार्ड ल्याएको खुलाउँछिन् । त्यसपछि आर्यनको परिवार र सञ्चिताको परिवार दिपंकरकहाँ पुग्छन्, तर दिपंकरले मायाका बारेमा केही थाहा नपाएको बताउँछन् । त्यसपछि माया अर्थात् प्रियंकाको खोजी सुरु हुन्छ ।
यो चलचित्रका निर्देशक विकासराज आचार्य हुन् । ‘नाइँ नभन्नू ल’ सिरिजबाट चर्चामा आएका यी निर्देशकले ‘हजार जुनीसम्म’लाई ‘नाइँ नभन्नू ल’बाट मुक्त राखेका छन् । ‘नाइँ नभन्नू ल’को जस्तो रोदन यो चलचित्रमा छैन । ‘नाइँ नभन्नू ल’मा अनुभव रेग्मीको सेन्टिमेन्टलाई क्यास गरेका निर्देशक विकासले ‘हजार जुनीसम्म’मा आर्यनबाट क्यास लिएका छन् । अभिनयको कुरा गर्दा आर्यनको अभिनय जीवन्त छ, चाहे कपाल फुलेको चरित्रमा होस् वा युवावस्थामा होस् । सहायक चरित्रमा देखिएका सलोन दर्शक हँसाउने मसला बनेका छन् । नयाँ अनुहार आर्थव अर्थात् अभिषेक प्रधानको अभिनय नेचुरल लाग्दैन । उनको संवाद बुझ्नै गाह्रो पर्छ । प्रियंका, सञ्चिता तथा स्वस्तिमाको अभिनय ठीक–ठाक छ । प्रेमकथात्मक चलचित्र मन पराउने दर्शकका लागि ‘हजार जुनीसम्म’ एउटा राम्रो खुराक बन्न सक्छ ।

चलचित्र

नम्रताको एक्सनमा जाइरा

- साप्ताहिक संवाददाता

अभिनेत्री नम्रता श्रेष्ठलाई प्रायशः दर्शकले चलचित्रमा रोमान्टिक फ्लेभरको भूमिकामा देखिइरहेका छन् । ‘सानो संसार’देखि ‘क्लासिक’ सम्म आइपुग्दा रोमान्टिक छविलाई नै निरन्तरता दिइरहेकी नम्र्रता यही साता एक्सन चलचित्र ‘जाइरा’ लिएर दर्शकमाझ पुग्दैछिन् । चलचित्रमा उनी मार्सल आर्ट्स खेलाडीको चरित्रमा प्रस्तुत हुँदैछिन् । चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सुजिता श्रेष्ठ, सम्राट मगर, सिर्जना रेग्मी आदि कलाकारको अभिनय छ । यो चलचित्रका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।

नम्रता श्रेष्ठ : जाइरामा म मार्सल आर्टस् खेलाडीको चरित्रमा देखिँदैछु । मिक्स मार्सल आर्ट फाइटसँग नेपालीहरू त्यति धेरै परिचित नभएकाले यो चलचित्र केही अनौठो लाग्न सक्छ । मैले यो चलचित्रका लागि तालिम लिँदा मार्सल आर्ट्सका कोचबाट साँच्चिको मुक्कासमेत खाएँ । त्यो मुक्काले मेरो गाला निकै सुन्निएको थियो । स्पोर्ट्स ड्रामामा आधारित यो चलचित्रको एक्सन दर्शकहरूले मन पराउनु हुनेछ भन्नेमा आशावादी छु ।

आशुतोष राज श्रेष्ठ : मैले झन्डै तीन वर्षको मेहनतमा यो चलचित्रको कथा तयार पारेको हुँ । यो चलचित्रमा भरपुर एक्सनसँगै रोमान्स र ग्ल्यामर पनि छ । ‘जाइरा’मा अलिक फरक किसिमको एक्सन छ ।

प्रमोद अग्रहरि : ‘जाइरा’ मा मेरो भूमिका खलनायककै भए पनि अन्य चलचित्रभन्दा फरक छ । यो चलचित्रमा भिलेनको जुन बुझाई, मनोविज्ञान र विचार छ, त्यो आफैंमा घिनलाग्दो र डरलाग्दो छ । आफूले यो चलचित्रमा निर्वाह गरेको भूमिकाबाट म निकै आनन्दित महसुस गरिरहेको छु । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन तथा ट्रेन्डसेटर्सको व्यानरमा निर्माण भएको चलचित्र जाइरामा प्रसन्न गोपाली कार्यकारी निर्माता छन् । यो चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, सम्राट बस्नेतको द्वन्द्व, केशव थापाको नृत्य एवं बाबु श्रेष्ठको छायांकन हेर्न पाइनेछ ।

रंगमञ्च

दर्शक तान्दै एक चिहान

- साप्ताहिक संवाददाता

पोखरा थिएटरको गर्न्धव नाटकघरमा नाटक ‘एक चिहान’ मञ्चन भैरहेको छ । ‘एक चिहान’ साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।
यो उपन्यासका माध्यमबाट प्रधानले त्यतिबेलाको नेपाली समाजका नारीहरूले भोग्नुपरेका यातना, किसानहरूमाथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास एवं त्यस प्रकारका विकृतिहरूबाट मुक्तिको मार्ग निर्देश गरेका छन् । उपन्यास एक चिहानको नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका हुन् ।
यो नाटकमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदिप बाँस्तोला, अञ्जु दाहाल, सन्दीप ठाकुर, विष्णु तिमिल्सिना, सुमन तिमिल्सिना, ईश्वरी राना, आशिका केसी, नितिषा बस्ताकोटी आदिले अभिनय गरेका छन् जो अष्टनारान, लतमाया, शिवनारान, हाकुमाया, पुननारान, नानीथकु, रत्नमान, रामखेलावन रावत, गोदत्तप्रसाद, गुठियार, भरिया, रामबहादुर, रोपारे, सहेली, रञ्जनादेवी तथा तामाङ बुहारी पात्रमार्फत प्रस्तुत हुन्छन् ।
पोखरा थिएटरको आठौं प्रस्तुतिस्वरूप मञ्चन भैरहेको यो नाटक भदौ १४ गतेसम्म मञ्चन हुने बताइएको छ । पाठ्यक्रममा समावेश भएका कारण समेत यो नाटकप्रति युवा तथा विद्यार्थीहरूको आकर्षण
बढी पाइन्छ ।
नेपाली किसान तथा मजदुरहरूको जीवनमा आधारित नाटक एक चिहान यथार्थवादी सामाजिक नाटक हो । नाटक एक चिहानमा वि.सं. २०११ तिरको निम्नवर्गीय नेपाली जीवनको यथार्थ प्रस्तुत गरिएको छ । गरिबी, बाध्यता र विवशताको परिवेशमा निम्नवर्गीय जीवनका जटिलता एवं संघर्ष समेटिएको यो नाटकमा विशेष गरी नेवार समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोसाक एवं लवजले यो नाटकलाई अझ परिपक्व बनाएको छ । अभिनयमा निखार ल्याउन कलाकारहरूले कडा मेहनत समेत गरेका छन् ।
यो नाटक हरेक साँझ ५ बजे मञ्चन भैरहेको छ भने शनिबार १ बजे अतिरिक्त शो हुने बताइएको छ । झन्डै डेढ घण्टा लामो यो नाटकले घरी हँसाउँछ, घरी रुवाउँछ भने विगतको स्मरण गराउने मात्र होइन, गम्भीर समेत बनाउँछ । पोखरामा अहिले नाटक हेर्ने संस्कृतिको विकास हुँदै गएको र नाटक नयाँ दर्शकको आकर्षणमा पर्न थालेको थिएटरका सञ्चालक दिल प्रसाद गुरुङ बताउँछन् ।

Page 18
मनोरञ्जन

चलिन् मिरुना

- साप्ताहिक संवाददाता

आफूले अभिनय गरेको चलचित्र नचल्दा जो–कोही खिन्न हुन्छन् । चलचित्र नै नचलेपछि अर्को चलचित्रमा काम पाइने हो कि होइन भन्नेमा कलाकार स्वयं अन्यौलग्रस्त हुन्छन्, तर यो मामिलामा अभिनेत्री मिरुना मगर भाग्यमानी नै छिन् । बेलायतमा बसोबास गर्ने मगरले चलचित्र ‘लालपुर्जा’बाट नेपाली चलचित्रमा डेब्यू गरिन् । त्यसपछि अभिनेता प्रदीप खड्कासँग चलचित्र ‘रोज’मा जोडी बाँधिन्् । दर्शकले उनीहरूको जोडी त के चलचित्र नै रुचाइदिएनन् । ‘रोज’पछि उनी केही समय अघि ‘साइनो’मा देखिइन् । ‘साइनो’ले पनि दर्शकसँग राम्रोसँग साइनो गाँस्न सकेन । यतिबेला मिरुना अभिनित ‘चच हुई’को चर्चा छ, जुन चलचित्रमा उनले आर्यन सिग्देलसँग जोडी बाँधेकी छन् । मिरुनाले अहिलेसम्म अभिनय गरेका कुनै पनि चलचित्रले व्यवसायिक सफलताको स्वाद चाख्न पाएका छैनन् । चलचित्र नचले पनि मिरुनाको पाइला भने निरन्तर चलिरहेको छ ।

मनोरञ्जन

विजेता जोडी

- साप्ताहिक संवाददाता

बिपिन कार्की तथा अभिनेत्री स्वस्तिमा खड्कालाई यतिबेला चलचित्र क्षेत्रका नम्बर एक अभिनेता–अभिनेत्री मान्न थालिएको छ । केही समयअघि प्रदान गरिएको राष्ट्रिय एवार्डमा विपिनले चलचित्र प्रसादबाट तथा स्वस्तिमाले बुलबुलबाट सर्वोत्कृष्ट अभिनेता तथा अभिनेत्रीको एवार्ड जितेका थिए । यी दुवै अभिनेता–अभिनेत्रीले हरेक प्रकारको भूमिका निर्वाह गरेर आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् । रोचक कुरा के छ भने उनीहरूले अहिलेसम्म जोडीका रूपमा भने एउटै चलचित्रमा अभिनय गरेका छैनन् । यद्यपि उनीहरूको जोडी बाँधिने सम्भावना प्रवल हुँदै गएको छ । स्वस्तिमाले हालै आफ्नो इन्स्टाग्राममा आफ्नो आठौं चलचित्रको शीर्षक अनुमान गर्न आग्रह गरेकी थिइन् । उनले अनुबन्ध भैसकेको उक्त चलचित्रको शीर्षक, निर्माता तथा निर्देशकको नाम गोप्य राखेकी छिन् । स्वस्तिमाले शीर्षक पत्ता लगाउन आग्रह गरेको उक्त चलचित्रमा उनको जोडीका रूपमा विपिन कार्की रहने सम्भावना अत्यधिक भएको बताइन्छ । विशाल सापकोटाले निर्देशन गर्ने चलचित्र ‘सेल्फी किङ’ नै स्वस्तिमा र विपिनलाई एक ठाउँमा ल्याउने चलचित्र हुने अनुमान गरिएको छ ।

 

अनुभव

ब्वाइफ्रेन्डको स्वीकृतिमा किस सिन

- राजाराम पौडेल

नायिका नम्रता श्रेष्ठले फाइटरको भूमिका निर्वाह गर्न गाह्रो भएको बताएकी छिन् । चलचित्र जाइरामा फाइटरको भूमिकामा देखिन लागेकी नम्रताले भनिन्— जब मैले स्क्रिप्ट पाएँ, त्यतिबेला म कुनै एगंलबाट पनि फाइटर देखिन्नथें । हुन त मलाई सधैं फरक भूमिकामा काम गर्न मन लाग्छ । यद्यपि मैले सक्दिनँ भने । मलाई नै हेरेर स्क्रिप्ट तयार भएको भनिएपछि म तयार त भएँ, तर त्यो काम त्यति सहज थिएन ।
मैले मार्सल आर्ट सिक्नुपर्ने भयो । सिक्न त थालें, दुई–तीन दिन गर्नै सकिनँ, मलाई सक्दिनँ कि जस्तो पनि भयो । साथीभाइका साथै केही निर्देशक–निर्माताले तिमीले एक्सन नगरे हुन्थ्यो, लभस्टोरी नै ठीक छ भन्न थालें, तर उनीहरूको भनाइपछि मलाई यो काम गरेरै देखाउने उत्प्रेरणा पो आयो । हैन किन नसक्ने, म ट्राइ गर्छु भन्ने भयो । मैले आठ महिना ट्रेनिङ गरें । आठ महिनाको तालिमले ममा धेरै फरक ल्यायो । बल्ल म फाइटरजस्ती देखिएँ । त्यस क्रममा मैले फाइटरहरूसँग समय बिताउँदै उनीहरूका गतिविधि नियालें ।
त्यसपछि मैले आफ्नो कपाल पनि काटें अनि जाइराको आफ्नो पात्रलाई न्याय दिने प्रयास गरें । सम्भवतः म आफ्नो प्रयासमा सफल हुनेछु । दर्शकले मेरो यो भूमिका रुचाइदिनुहुनेछ । जाइरा स्पोर्ट विधाको चलचित्र हो । यसमा म कलाकार मात्र होइन, निर्मात्रीमध्ये एक पनि हुँ । म सुटिङ सकिएपछि मात्र यसको निर्मात्री भएकी पनि हुँ, लगानीकर्ताको आवश्यकता परेका कारण ।
नम्रता भन्छिन्— राम्रो फिल्म नबनेरै नचलेका हुन् । राम्रा फिल्म चल्छन् भन्ने कुरामा, म आशावादी छु । चलचित्र दर्शकलाई मन नपरे पनि म दुःखी हुन्न र पश्चाताप गर्दिनँ । यद्यपि हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौं । मेरो काम फिल्ममै काम गर्ने हो, चलेन भनेर छोड्ने होइन । जाइरामा मैले बितेका १० वर्षको अवधिमा सिकेका कुरा उतार्ने प्रयास गरेकी छु । यो चलचित्रमा भएको किसिङ सिन मैले आफ्नो ब्वाइफ्रेन्डसँग स्वीकृति लिएर गरेकी हुँ ।

Page 19
मनोरञ्जन

किन चलिनन् शिल्पा ?

- साप्ताहिक संवाददाता

अभिनेत्री शिल्पा मास्के सुन्दर छिन् । उनको अभिनयमा पनि कुनै कमी छैन । नृत्यमा पनि उनले गुनासो गर्ने ठाउँ दिएकी छैनन् । शिल्पा बेलायतमा अभिनयको प्रशिक्षण लिएर नेपाली चलचित्र क्षेत्रमा आएकी हुन् । यती हुँदा–हुँदा पनि अभिनेत्री मास्केले अभिनय गरेका चलचित्रहरू चल्न सकेका छैनन् । शिल्पाको अभिनयले दर्शकको मन जित्न सकेका छैनन् । शिल्पाले अभिनय गरेका तीनवटै चलचित्र औसतभन्दा माथि उठ्न सकेनन् । पहिलो चलचित्र ब्रेकअपमा उनलाई बिन्दास युवतीका रूपमा चित्रण गरिएको थियो । अनमोल केसीको चलचित्र क्याप्टेनसँग जुधेका कारण पनि उक्त चलचित्र व्यवसायिक रूपमा सफल हुन सकेन । चलचित्र ‘कागज पत्र’ पनि नचलेपछि शिल्पालाई दोस्रो पटक ठेस लाग्यो । दुई साताअघि प्रदर्शन भएको आफ्नो तेस्रो चलचित्र ‘सानो मन’ पनि औसतभन्दा माथि उठ्न नसकेपछि शिल्पामाथि असफलतामा ह्याट्रिक गर्ने अभिनेत्रीको बात लागेको छ । सबै कुराले पूर्ण भए पनि आफूले अभिनय गरेका चलचित्र नचलेपछि शिल्पाको अबको यात्रा कसरी अघि बढ्छ, हेर्न बाँकी नै छ ।

मनोरञ्जन

प्रभाससँग भिड्दै पुष्प

- साप्ताहिक संवाददाता

चलचित्रका अभिनेताले आफ्नो ज्यान राम्रो बनाउनु ठूलो कुरा होइन । अधिकांश अभिनेता फुर्सद पाउने बित्तिकै जिमशाला धाउनु सामान्य हो । अचेल अभिनेता पुष्प खड्का पनि आफ्नो ज्यान बनाइरहेका छन् । यद्यपि, उनले ज्यान बनाएको कुरालाई भने बलिउडका अभिनेता प्रभाससँग तुलना गरिएको छ । भदौ १३ गते बलिउडको हालसम्मकै सबैभन्दा ठूलो बजेटको चलचित्र ‘साहो’ प्रदर्शनमा आउँदैछ । त्यही मितिमा पुष्प खड्काको महत्वाकांक्षी चलचित्र ‘मारुनी’ प्रदर्शन हुँदैछ । बलिउडको ठूलो चलचित्रसँग आफ्नो चलचित्रको भिडन्त हुने कुराले निर्देशक नवल नेपाल तथा निर्मात्री पूनम क्षेत्रीको चिन्ता बढिरहेको हुनुपर्छ । यता अभिनेता पुष्प खड्का भने पृथक विषयमा फरक शैलीबाट निर्माण भएको मारुनीलाई नेपाली दर्शकले माया गर्छन् भन्ने कुरामा ढुक्क देखिन्छन् । निर्माणमा कुनै सम्झौता नगरिएकाले मारुनीले व्यवसायिक सफलता पाउने तर्क छ । यद्यपि, मल्टिप्लेक्समा हलिउड तथा बलिउडका चलचित्र हेर्न पल्किएका सहरीया दर्शकले अभिनेता खड्काको विश्वासमा कत्तिको साथ दिने हुन्, हेर्न बाँकी नै छ ।

मनोरञ्जन

नयाँ लेडी फाइटर

- साप्ताहिक संवाददाता

नेपाली चलचित्रमा खलनायकको चर्चा हुने बित्तिकै सुनिल थापाको सम्झना आउँछ । थापाले राते काइँलाका रूपमा बेग्लै छाप बनाएका थिए । त्यसयता नेपाली चलचित्रमा खलनायकहरूको समेत प्रभावकारी भूमिका रहँदै आएको छ । पछिल्लो समय त अभिनेताहरूलाई नै खलनायकका रूपमा अभिनय गराउने ट्रेण्ड प्रारम्भ भएको छ । अभिनेता अनुप विक्रम शाही प्रायः खलनायककै भूमिकामा प्रस्तुत भैरहेका हुन्छन् । अहिले आएर चलचित्रका लागि एउटा नयाँ अनुहार खलनायिकाका रूपमा दर्शकमाझ आउने तयारी गरिरहेकी छिन् र उनी हुन्– सिर्जना रेग्मी । स्थापित मोडल रहिसकेकी सिर्जनाले नम्रता श्रेष्ठको नयाँ चलचित्र ‘जाइरा’ मार्फत खलनायिकाको भूमिका निर्वाह गर्दै अभिनय यात्रा प्रारम्भ गरेकी छिन् । यही साता प्रदर्शनमा आउने उक्त चलचित्रमा नम्रता श्रेष्ठले मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् भने सिर्जनाले नम्रतासँगै फाइट खेल्ने एक्सन लेडीको भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्रमा नम्रता र सिर्जनाका बीचमा जबरजस्त द्वन्द्वका दृश्य समावेश गरिएको छ । चलचित्रमा सिर्जनालाई नेपाली चलचित्रको इतिहासमै पहिलो पटक शक्तिशाली खलनायिकाका रूपमा प्रस्तुत गरिएको बताइन्छ । चलचित्रको ट्रेलरमा देखिने सिर्जनाको लुक्स, गेटअप तथा एक्सनको प्रशंसा भैरहेको छ भने सिर्जनाले गरेको बाइक स्टन्टको दृश्य पनि प्रशंसित छ ।

मनोरञ्जन

जहाँ राम त्यहाँ दया

- साप्ताहिक संवाददाता

नेपाली चलचित्र क्षेत्रमा फलानो मल्टिप्लेक्स कलाकार, फलानो सिंगल थिएटर कलाकार भन्ने रोग नै छ । कुन कलाकारलाई लिएर चलचित्र बनाउँदा कुन हलमा चल्छ र कुन हलमा चल्दैन भन्ने चलचित्र निर्माणको क्रमदेखि नै अनुमान गरिन्छ । यो मामिलामा अभिनेता दयाहाङ राई केही फरक छन् । उनका चलचित्र सिंगल र मल्टिप्लेक्स दुवैमा राम्रैसँग चलेका छन् । दयाहाङ भाग्यमानी पनि मानिन्छन् । भाग्यमानी यस अर्थमा कि उनी निर्देशक रामबाबु गुरुङको कुनै पनि चलचित्र छुट्दैनन् र दयाहाङले रामबाबुसँग सहकार्य गरेका कुनै पनि चलचित्रले असफलताको स्वाद चाखेका छैनन् । दया बाहिरी ब्यानरका चलचित्रमा त्यति जम्न सक्दैनन्, जति रामबाबुको ब्यानरमा जम्छन् । चलचित्र ‘कबड्डी’ बाट सहकार्य सुरु गरेको यो जोडीले हालसम्म ‘मिस्टर झोले’, ‘पुरानो डुंगा’, ‘कबड्डी कबड्डी’, ‘साइँली’ र अहिले ‘कबड्डी कबड्डी कबड्डी’ सम्म आइपुग्दा सहकार्य तोडेका छैनन् । त्यसो त रामबाबुले आफूले निर्देशन नगरे पनि दयाहाङले अभिनय गरेका ‘झुम्की’, ‘त्यान्द्रो’ र ‘आप्पा’मा लगानी समेत गरिदिएका छन् । अन्य निर्माताको चलचित्रमा पारिश्रमिक, भूमिका र स्क्रिप्टमा आनाकानी गर्ने दयाहाङ रामबाबुको चलचित्रमा भने विना पारिश्रमिक र स्क्रिप्ट नै अनुबन्धित हुन्छन् । किनभने दयामा रामबाबुले राम्रो स्क्रिप्ट लेखेको छ भन्ने भरोसा छ । सीताराम कट्टेल ‘धुर्मुस’ तथा कुन्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गर्न लागेको चलचित्र ‘सेन्टी भाइरस’मा दयाहाङ केमियोको भूमिकामा देखिँदैछन् । यो चलचित्रको निर्देशन पनि रामबाबुले नै गर्दैछन् । यो जोडीको दोस्तीयारी देखेका चलचित्रकर्मीहरू भन्छन्, ‘जहाँ रामबाबु, त्यहाँ दयाहाङ ।’

Page 20
बलिउड

यस्तो पनि लफडा

- साप्ताहिक संवाददाता

बलिउड चलचित्रका प्रशंसकहरू आफूले रोजेका अभिनेता–अभिनेत्रीहरूले एउटै चलचित्रमा काम गरुन् भन्ने चाहना राख्छन् । फ्यानहरूको यस्तो चाहनाअनुसार त्यहाँका निर्माताहरू पनि त्यस्तै कलाकारहरूको जोडी बाँधेर चलचित्र बनाउँछन् । रमाइलो कुरा त के छ भने आफ्नो समयका अब्बल अभिनेता सलमान खान र अब्बल अभिनेत्री दीपिका पादुकोणले अहिलेसम्म कुनै चलचित्रमा स्क्रिन सेयर गरेका छैनन् । बलिउड सूत्रका अनुसार निकट भविष्यमा उनीहरू एउटै चलचित्रमा देखिने सम्भावना पनि छैन, किनभने सलमान खानले व्यक्त गरेको एउटा विचारपछि दीपिकाले सलमान खानलाई नरुचाएको बताइन्छ । आफ्नो उक्त चर्चित विचारमा सलमान खानले डिप्रेसनबाट पीडित मानिसहरूका बारेमा नकारात्मक टिप्पणी गरेका थिए । स्मरणीय छ, दीपिका पादुकोण कुनै बेला डिप्रेसनको सिकार भैसकेकी छिन् । यो विषयमा दीपिका भन्छिन्, डिप्रेसनको स्थितिबाट गुज्रिनु कुनै ठूलो कुरा होइन । त्यस्तो स्थितिमा मानिसले मायाको खोजी गर्छ, घृणाको होइन ।

बलिउड

ऋत्विक रोशनको उपलब्धि

- साप्ताहिक संवाददाता

यो वर्ष एउटा ट्युसन शिक्षकको संघर्ष कथामा आधारित चलचित्र सुपर थर्टीबाट प्रशंसा र प्रसिद्धि कमाएका ऋत्विक रोशन वर्ल्ड्स टप मोस्ट डटकमले गरेको सर्वेक्षण मोस्ट हेन्डसम म्यान इन द वर्ल्डमा पहिलो स्थानमा उक्लिएका छन् । यसका लागि ऋत्विकले क्रिस इभान, डेबिड बेकह्याम, रबर्ट पेटिन्सनजस्ता हस्तीलाई पछाडि पारेका थिए । आफ्नो सर्कलमा ‘ग्रिक गड’ उपनामले चर्चित ऋत्विक यो सूचीको पहिलो स्थानमा कब्जा जमाउने पहिलो बलिउड कलाकार हुन् । यो उपलब्धि प्राप्त गर्न ऋत्विकलाई उनको निलो आँखा तथा जिम फिट शरीरले साथ दिएको बताइन्छ ।

बलिउड

मन भरियो कि ?

- साप्ताहिक संवाददाता

अर्जुन कपुर र मलाइका अरोडाको रोमान्सको खबरले बलिउडको गसिप बजार दिनहुँ तात्छ । केही साताअघि मात्र इन्डोनेसियाको बालीमा गोल्डेन टाइम बिताएर आएका अर्जुन र मलाइका बीच खटपटको कुनै समाचार नआए पनि अर्जुन कपुर भने यतिबेला कटरिना कैफलाई पछ्याउन थालेका छन् । केही दिनयता अर्जुनले कटरिनाको इन्स्टाग्राममा आफ्ना कमेन्ट लगातार पोस्ट गर्न थालेका छन् । ती पोस्टमा अर्जुनले कटरिनाको लवाइ–खवाइदेखि हाउभाउसम्ममा टिप्पणी गरेको पाइन्छ । उता रणवीर कपुरसँग ब्रेकअप भएयता सिंगल रहेकी कटरिनाले अर्जुनबाट हुने ट्रोललाई रमाइलोका रूपमा लिंदै अर्जुनलाई लिफ्ट दिइरहेको संकेत दिएकी छिन् ।

बलिउड

सलमान खान नै अब्बल

- साप्ताहिक संवाददाता

भारतको प्रसिद्ध समाचार नेटवर्क आजतकले कर्भी–इन्साइट नामक संस्थासँग मिलेर गरेको सर्वेक्षण ‘देशका मिजाज’ अन्तर्गत बलिउडका अभिनेताहरूका बारेमा गरिएको सर्भेअनुसार सलमान खान पहिलो स्थानमा छन् । यो वर्ष औसत दरिएको उनको चलचित्र भारत मात्र सार्वजनिक भए पनि भारतीय जनताले अब्बल नायकहरूको सूचीका लागि सलमान खानलाई सर्वाधिक मत दिएका थिए । कुल ८ प्रतिशत मतका साथ सलमान अब्बल दरिएका हुन् । सलमानलाई पछ्याउनेमा दोस्रो स्थानमा अक्षयकुमार (७ प्रतिशत मत) तथा तेस्रो स्थानमा रणवीर सिंह (६ प्रतिशत मत) छन् । यो सूचीको चौथो स्थानमा संयुक्त रूपमा अमिताभ बच्चन, साहरूख खान, रणवीर कपुर र अजय देवगन छन् । उनीहरू चारै जनाले ६ दशमलव ५ प्रतिशत मत प्राप्त गरेका थिए । सूचीको पाँचौं स्थानमा दक्षिण भारतका अभिनेता प्रभास, टाइगर श्राफ तथा साहिद कपुर छन् । उनीहरूले पाँचौं स्थानका लागि ६ प्रतिशतभन्दा केही कम मत पाएका थिए ।

Page 21
अटो

भव्य हुनेछ नाडा अटो शो

- साप्ताहिक संवाददाता

सवारी साधनको भव्य मेला अर्थात् नाडा अटो शो–२०१९ भदौ १० गते प्रारम्भ हुँदैछ । भदौ १५ गतेसम्म चल्ने नेपालको सबैभन्दा ठूलो यो अटो शोमा १ सय ६० वटा स्टल तथा ब्लकहरू रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । यो प्रदर्शनीमा सवारी साधनबाहेक तिनका पार्टपुर्जा र विभिन्न सेवाहरूसमेत उपलब्ध हुनेछन् । चाडपर्वको पूर्वार्द्धमा आयोजना हुन लागेको यो शोमा सवारी साधन व्यवसायी, ग्राहक तथा अटोमाबाइलसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराइने बताइएको छ ।
१४ औं संस्करणको यो अटो शोमा २३ ब्रान्डका चारपांग्रे सवारी साधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्था सहभागी हुँदैछन् ।
नाडा अध्यक्ष शम्भुप्रसाद दाहालले गत वर्ष ७१ ब्रान्ड सहभागी भएकोमा यो वर्ष ९५ ब्रान्ड सहभागी हुने बताए । गत वर्ष स्थान अभावका कारण वित्तीय संस्थाहरू अटो शोमा सहभागी भएका थिएनन् । यसपटक भृकुटीमण्डप बगैंचासमेत प्रदर्शनी स्थलका रूपमा प्रयोग गरिनेछ भने आवतजावतलाई सहज बनाउन अस्थायी ओभरहेड ब्रिजको समेत व्यवस्था गरिनेछ ।
अवलोकनकर्ताहरूका लागि २ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको यो मेलामा विद्यार्थीहरूलाई १ सय ५० रुपैयाँमै टिकट प्रवेश दिइने बताइएको छ ।

अटो

यस पटकको अटो शो थप व्यवस्थित हुनेछ

- साप्ताहिक संवाददाता
अनुपकुमार बराल
सचिव तथा प्रवक्ता, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल

यस पटकको अटो शोमा कस्ता सवारी साधन उपलब्ध हुनेछन् ?
नाडा अटो शोमा १ सय ६० वटा स्टल तथा ब्लक रहनेछन् । सवारी साधनबाहेक तिनका पार्टपुर्जा र विभिन्न सेवाहरू समेत उपलब्ध हुनेछन् । अटो शोमा सवारी साधन व्यवसायी, ग्राहक एवं अटोमाबाइलसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने योजना छ ।

पहिलेका वर्षको तुलनामा यस पटकको अटो शो के–कति कारणले फरक हुनेछ ?
प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक एवं ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिको सेवा तथा बिमासम्बन्धी छुट्टाछुट्टै स्टलहरू रहनेछन् । प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहनेछ ।

अटो शो कतिले अवलोकन गर्ने अपेक्षा छ ? सहभागीहरूका लागि के–कस्ता सुविधा छन् ?
६ दिनसम्म चल्ने यो शो ७५ हजारले अवलोकन गर्ने अपेक्षा गरेका छौं । प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरू मध्येबाट भाग्यशाली विजेतालाई २०० सीसी क्षमताको जीपीएक्स जेन्टलमेन मोटरसाइकल उपहारको व्यवस्था गरिएको छ ।

विशेष आकर्षणका रूपमा कस्ता सवारी साधन हुनेछन् ?
यस पटक विभिन्न कम्पनीले नयाँ सवारी साधन प्रदर्शन गर्नेछन् । विभिन्न नयाँ कम्पनी पनि भित्रिएका छन् । विभिन्न कम्पनीले ल्याउने विद्युतीय सवारी पनि मेलाका आकर्षण हुनेछन् ।



अटो

प्रविधिमैत्री बन्दै सार्वजनिक यातायात

- साप्ताहिक संवाददाता

नेपाली सडक र सार्वजनिक यातायात समेत प्रविधिमैत्री बन्दै गएका छन् । काठमाडौंमा विभिन्न एप्स प्रयोग गरी सवारी साधन चढ्न पाइने भएको छ । राइड सेयरिङ सुविधा उपलब्ध गराउँदै आएको पठाओ नेपाल कम्पनीले हालै ट्याक्सी सेवा सुरु गरेको छ । साझा यातायात र यस्तै ठूला सवारी साधन उपलब्ध गराइरहेका कतिपय बस कम्पनीले एप्स र स्मार्टकार्डको प्रयोगलाई बढावा दिएका छन् । बस कुन स्थानमा पुग्यो र कति बेला आइपुग्छ भनेर एप्सबाटै थाहा पाउन सकिने भएको छ भने भाडा तिर्न स्मार्ट कार्ड प्रयोग गर्न सकिन्छ ।

अटो

नयाँ ब्रान्ड

- साप्ताहिक संवाददाता

अटो शोमा सबैजसो ब्रान्डले नयाँ मोडल प्रदर्शनीका लागि राख्ने गरेका छन् । यस पटक नयाँ ब्रान्ड समेत सहभागी हुने भएका छन् । नाडा अटो शोमा चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक बीवाईडी र दायले सहभागिता जनाउँदै छन् । त्यस्तै अर्को चिनियाँ सवारी उत्पादक फोटोन समेत अटो शोमा सहभागी हुनेछ । दुई पांग्रेतर्फ सुपर सोको र जिनियस ब्रान्ड पहिलो पटक नेपाली अटो शोमा सहभागी हुँदैछन् । जर्मन सवारी उत्पादक कम्पनी बीएमडब्लूका मोटरसाइकल समेत नाडा अटो शोमा प्रदर्शनीका लागि राखिनेछन् भने जीपीएक्स ब्रान्ड पनि पहिलो पटक यसमा सहभागी हुँदैछ ।

अटो

फस्टाउँदै अटो स्पोर्ट्स

- साप्ताहिक संवाददाता

नेपाली बजारमा नयाँ गाडी तथा मोटरसाइकल भित्रिने क्रमसँगै अटोमोबाइल सम्बद्ध खेलकुद अर्थात अटो स्पोर्ट्सको क्रेज समेत बढ्दै गएको छ । अटो स्पोर्ट्स, ड्राइभ टुरिज्म, अटो रोबोटिक्स इनोभेसन तथा सडक सुरक्षाका बारेमा समेत विभिन्न संस्थाहरू क्रियाशील छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा), रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान), ट्राफिक प्रहरी आदिले यसमा भूमिका खेलिरहेका छन् । नेपालमा बाइक र कार रेसिङ प्रतियोगिता समेत आयोजना हुन थालेका छन् भने कतिपय खेलाडी विदेशमा हुने रेसिङमा समेत सहभागी भएका छन् । बाइक रेसिङमा रेसमान्डु, क्रसमान्डु, होन्डा नेपाल ड्रिम कप, टीभीएस नेपाल ट्यालेन्ट कप आदि ब्रान्ड नै भैसकेका छन् । यो क्षेत्रमा अटोमोबाइल कम्पनीहरूको सहयोग समेत बढ्दो छ ।

Page 22
अटो

अटो शोका आकर्षण

- साप्ताहिक संवाददाता

भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाडा अटो शोमा विभिन्न नयाँ मोडलका कार तथा बाइकहरू हेर्न पाइनेछ । कतिपय कम्पनीले आधिकारिक रुपमा ती कार तथा बाइकका बारेमा जानकारी प्रदान गरिसकेका छन् ।

हुन्डाई भेन्यू
भेन्यूमा ८ इन्चको टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड जडान गरिएको छ । यो कारको क्याविन निक्कै आरामदायक छ । क्याबिनमा पर्याप्त स्पेस छ भने बुट स्पेस पनि ठूलो छ । यद्यपि पछाडि बस्ने मानिस अग्लो भए स्पेस कम हुनसक्छ । हुन्डाई भेन्यूमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामेरा आदि विशेषता छन् । यसमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता छन् । हुन्डाईको भेन्यु तीनवटा इन्जिन अप्सनमा उपलब्ध छ ।


टाटा एच ५ तथा अल्ट्रोज
टाटाको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज तथा एसयूभी टाटा हृयारियर अटो शोको विशेष आकर्षण हुनेछन् । नयाँ कार अल्ट्रोज एलइडी प्रोजेक्टर हेडल्याम्प, डेटाइम रनिङ लाइट, अलोय ह्वील, मल्टिपल राइडिङ मोड, इन बिउल्ड नेभिगेसन, भ्वाइस कमान्ड, एप्पल कारप्ले, एन्ड्रोइड अटो नेक्टिभिटी आदि विशेषताले युक्त छ । त्यस्तै यसमा सेमी–डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर राखिएको छ ।
टाटा एच ५ एसयूभी सेग्मेन्टको कार हो । यसमा १९५६ सीसी क्षमताको इन्जिन छ भने ६ वटा स्पिड गियर छ । डिजेल भेरियन्टको यो कारले प्रतिलिटर १७ किलोमिटर माइलेज दिन्छ । भारतमा ह्यारियरको नाममा बिक्री हुने कारलाई नेपालमा एच–५ नामाकरण गरिएको हो ।

फोर्ड इकोस्पोर्ट थन्डर
फोर्डको इकोस्पोर्ट थन्डर एडिसनमा इलेक्ट्रिक सनरुफ, सेन्टर कन्सोल, इन्ट्रयुमेन्ट क्लस्टर आदि परिवर्तन भएको छ । नयाँ इकोस्पोर्टमा ९ इन्चको फ्लोटिङ टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । यो १ दशमलव ५ लिटर टीआई–भीसीटी ३ सिलिन्डर पेट्रोल इन्जिन तथा अर्को १ दशमलव ५ लिटर टीडीसीआई डिजेल इन्जिनमा उपलब्ध हुनेछ ।

रेनो ट्राइबर र डस्टर
हालै भारतमा सार्वजनिक गरिएको ट्राइबर मल्टियुटिलिटी भेइकल (एमपीभी) तथा डस्टर फेसलिफ्ट (एसयुभी) नाडा अटो शोकै क्रममा नेपाल आउने भएका छन् । ५ र ७ सिटर अप्सनमा उपलब्ध हुने ट्राइबर ५ स्पिड म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । १ लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९० बीएच पावरका साथै ११० एनएम टर्क उत्पादन गर्छ । यसको लम्बाई ४ मिटरभन्दा कम हुनेछ ।
रेनोले फेसलिफ्ट डस्टरको डिजाइन, हेडल्याम्प तथा फ्रन्ट लुकमा परिमार्जन गरेको छ । यसको एलईडी डीआरएल तथा प्रोजेक्टर हेडल्याम्प सहित फ्रन्ट बम्परमा समेत ठूलो परिवर्तन ल्याइएको छ । यसमा बीएस–६ मापदन्डको इन्जिन जडान गरिएको बताइन्छ ।

टोयोटा र्‍याभ फोर
टोयोटाको नयाँ मोडलको र्‍याभ फोर पनि यही अटो शोमा सार्वजनिक हुनेछ । यो क्रसओभर एसयूभीमा २ दशमलव ५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ । टोयोटाले हाइब्रिड भेइकल पनि यही अटो शोमा उतार्ने बताएको छ, तर कुन मोडलको भन्ने कुरा अझै सार्वजनिक गरेको छैन ।

महिन्द्रा एक्सयूभी ३०० तथा मराजो
महिन्द्रा एक्सयूभी ३०० दुई इन्जिन अप्सन र ४ भेरिएन्टमा उपलब्ध छ । यो एसयूभी १.५ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन तथा १ दशमलव २ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनमा उपलब्ध छ । यो एसयूभीमा ७ एयरब्याग, फ्रन्ट पार्किङ सेन्सर, हिटेड विङ मिरर, एन्टि पिंचका साथमा इलेक्ट्रिक सनरुफ, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, स्टेयरिङ मोड्स तथा अल हिृवल डिस्क ब्रेक जस्ता फिचर छन् । त्यसैगरी मराजोमा स्ट्यान्डर्ड डबल एयरब्याग, एबीएस, ड्राइभरका लागि सिटबेल्ट रिमाइन्डर तथा आइसोफिक्स एंकरेज छ । मराजो महिन्द्रा कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो र सुरक्षित प्यासेन्जर भेइकल हो । मराजोको डिजाइन शार्क माछाबाट प्रेरित छ ।

होन्डा सिभिक
होन्डाको मिड साइज सेडान कार सिभिकको १० औं संस्करणको कार अटो शोमा उपलब्ध हुनेछ । होन्डा सिभिक १ दशमलव ८ लिटरको पेट्रोल इन्जिनले १४१ बीएचपीको पावर तथा १७४ एनएमको टर्क जेनरेट गर्छ भने १ दशमलव ६ लिटर ४ सिलिन्डर डिजेल इन्जिनले १२० बीएचपीको पावर तथा ३०० एनएमको टर्क जेनरेट गर्छ ।

जिप कम्पास ट्रेलहक
जिप कम्पास ट्रेलहकमा ८ दशमलव ४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित स्याटेलाइट नेभिगेसन सिस्टम समेत जडान गरिएको छ । यो विशेषता ट्रेलहकको सबै भेरिएन्टमा उपलब्ध हुनेछ । जिप कम्पास ट्रेलहकमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन रहनेछ, जसमा टर्क कन्भर्टर समेत दिइएको छ । यसमा बीएस–६ मापदन्ड अनुसारको २ दशमलव ० लिटर मल्टिजेट डिजेल इन्जिन छ ।

स्याङयोङ म्युसो ग्रान्ड
कोरियाली प्रिमियम गाडी उत्पादक कम्पनी स्याङयोङको पिकअप म्युसो ग्रान्डको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ पर्छ । म्युसो फोर एक्स २ एमटी, फोर एक्स टु एटी, फोरएक्स फोर एटी गरी तीन भेरिएन्टमा खरिद गर्न सकिन्छ । यसमा आकर्षक इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्ने विशेषता उपलब्ध हुनेछ ।

सुजुकीको हाइब्रिड कार
सुजुकीका सियाज, अर्टिगा तथा एस क्रस हाइब्रिड कार पनि यही अटो शोमा सार्वजनिक हुनेछन् । यो वर्षको बजेटमार्फत हाइब्रिड कारमा भारी छुट समेत प्रदान गरिएकाले धेरै कम्पनी यस्ता कारतर्फ आकर्षित छन् । त्यसै अनुसार सुजुकीले पनि हाइब्रिड कार भित्र्याएको छ ।

सबैभन्दा सस्तो कार
नेपालमा उपलब्ध सबैभन्दा सस्तो कार ड्याटसन रेडी गोलाई मानिन्छ । हाल यसको फेसलिफ्ट भर्सन आइसकेको छ । ८ सय सीसी इन्जिन क्षमताको यो स्मल ह्याचब्याक कार नेपाली बजारमा बिक्री हुने सबैभन्दा सस्तो आइसी इन्जिनयुक्त कार हो । कम्पनीले यसलाई नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ ।

Page 23
अटो

विद्युतीय कार तथा बाइक

- साप्ताहिक संवाददाता

विद्युतीय कार र बाइकको बजार विश्वभर नै बढिरहेको छ । विद्युतीय सवारी साधनलाई भविष्यको सवारीका रूपमा समेत लिइन्छ । यही कुरालाई मनन गरी नेपाली बजारमा पनि विद्युतीय सवारी साधनहरू भित्रिरहेका छन् । यस पटकको नाडा अटो शोमा पनि केही नयाँ सवारी साधन भित्रिँदै छन् ।

 
जिनियस ब्रान्डका बाइक तथा स्कुटर
नाडा अटो शोमा जिनियस ब्रान्डका इलेक्ट्रिक बाइक तथा स्कुटर पहिलो पटक सार्वजनिक गरिने भएको छ । कम्पनीले हाललाई ४ वटा मोडलका बाइक एवं २ वटा मोडलका स्कुटर उपलब्ध गराउनेछ । बाइकको मूल्य २ लाख ७८ हजार देखि ३ लाख ७८ हजार तथा स्कुटरको मूल्य १ लाख ८९ हजार र १ लाख ९६ हजार रुपैयाँ हुने बताइएको छ । झट्ट हेर्दा हेभी र स्पोर्टी बाइकको झझल्को दिने यी बाइकमा ३ हजार र ५ हजार वाटको मोटर जडान गरिएको छ भने सबैमा ७२ भोल्टको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । यो बाइकमा भएको ब्याट्रीलाई ६ देखि ८ घण्टा सम्म चार्ज गर्दा १ सय २० किलोमिटर माइलेज प्रदान गर्छ भने यो स्कुटरमा १ हजार २ सय वाटको मोटर जडान गरिएको छ । एउटा स्कुटरमा ६० र अर्कोमा ७२ भोल्टको ब्याट्री छ । जिनियस स्कुटरमा भएको ब्याट्रीलाई ६ देखि ८ घण्टा सम्म चार्ज गर्दा १ सय किलोमिटर भन्दा बढी माइलेज पाइने कम्पनीको दाबी छ ।

एमजीको इजेडएस
एमजीको इलेक्ट्रिक कार इजेडएसले ११० किलोवाट पावर तथा ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयोन ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४ सय २८ किलोमिटरसम्म चलाउन सकिन्छ । इजेडएसको ब्याट्री लाइफ ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर (वारेन्टी) छ भने यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ पर्छ ।

बीवाईडीको एम–३
चाइनिज कम्पनी बीवाईडीले नेपाली बजारमा एम–३ लाई उतारेको छ । मिनी एमपीभी एम–३ गाडी ५ सिटर र ७ सिटर अप्सनमा उपलब्ध छ । यो गाडीको सुरुवाती मूल्य करिब ४५ लाख रुपैयाँ भएको बताइएको छ । बीवाईडी एम–३ ले फुल चार्जमा ३ सय ५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

किया निरो
कियाको नयाँ इलेक्ट्रिक कार निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा जडित १ सय ५० किलोवाटको इलेक्ट्रिक मोटरले २ सय १ बीएचपी पावर तथा ३ सय ९५ एनएम टर्क उत्पादन गर्छ । यो कारले ७–८ सेकेन्डमा शून्यबाट १ सय किलोमिटरको गति तय गर्न सक्ने कम्पनीको दाबी छ । एक पटकको फुलचार्जमा ४ सय ८० किलोमिटर माइलेज दिने निरोको मूल्य ६६ लाख ९० हजार रुपैयाँ पर्छ ।

टाटा टिगोर ईभी
टाटाले टिगोर ईभीलाई गत वर्षको नाडा अटो शोमा डिस्प्ले गरेको थियो । टिगोर ईभी एक्सएम र एक्सटी गरी दुईवटा भेरिएन्टमा उपलब्ध छ । विभिन्न तीन रङमा खरिद गर्न सकिने यो कारमा ड्युअल एयरब्याग, एबीएस, रेयर पार्किङ सेन्सर आदि विशेषता छन् । टिगोर ईभीमा १६ दशमलव २ किलोवाटको ब्याट्री छ जसले ४१ पीएस पावर तथा १०५ एनएम टर्क दिन्छ । यो कारले फुल चार्जमा १ सय ४२ किलोमिटर माइलेज दिने बताइएको छ ।

दाहे इलेक्ट्रिक
केही समय पहिले मात्र नेपाली बजारमा भित्रिएको चिनियाँ ब्रान्ड दाहेको इलेक्ट्रिक कार दुईवटा ब्याट्री अप्सनमा उपलब्ध छ । लिड एसिड ब्याट्री तथा लिथियम आयोन ब्याट्रीका साथ उपलब्ध यो कारले १ सयदेखि १ सय ५० किलोमिटरसम्म माइलेज दिने कम्पनीले बताएको छ । यसमा दिइएको लिड एसिड ब्याट्रीले एक पटकको फुल चार्जमा १ सयदेखि १ सय २० किलोमिटरसम्म र लिथियम आयोन ब्याट्रीले १ सय २० देखि १ सय ५० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । लिड एसिड ब्याट्री जडित यो कारको सुरुवाती मूल्य १३ लाख ९० हजार रुपैयाँ छ भने लिथियम आयोन ब्याट्रीयुक्त गाडीको मूल्य १५ लाख ९० हजार रुपैयाँ छ ।

हुन्डाई कोना
कोना ईभी हुन्डाईको पहिलो पूर्ण इलेक्ट्रिक सब–कम्प्याक्ट एसयूभी हो, जसमा क्लोज्ड ग्रिल र अद्भुत बाहिरी डिजाइन छ । यसको भित्री भागमा भएको सेन्टर कन्सोलले सहज रूपमा गाडी चलाउन सहयोग गर्छ । कोना ईभीले १ सय ३५ पीएसको पावर दिन्छ भने यसले दरिलोपनका साथ इलेक्ट्रिक पावरट्रेनको पावर प्रदान गर्छ । यसमा ३९ दशमलव २ किलोवाट आवरको पोलिमर ब्याट्री प्याक छ, जसलाई सिंगल चार्ज गर्दा ३ सय किलोमिटर भन्दा बढी ड्राइभ गर्न सकिन्छ । कोना ईभीको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ पर्छ ।

निउका इलेक्ट्रिक स्कुटर
निउ ब्रान्डको नयाँ मोडलको इलेक्ट्रिक स्कुटर निउ एनजीटी पनि यो अटो शोमा सार्वजनिक हुँदैछ । यो स्कुटरको मूल्य ४ लाख २५ हजार रुपैयाँ हुने कम्पनीले बताएको छ । यो स्कुटरमा फास्ट चार्जिङको सुविधा उपलब्ध छ । यसलाई एक पटक फुल चार्ज गर्दा १ सय २० किलोमिटरभन्दा बढी चलाउन सकिन्छ । ३ हजार वाटको मोटर जडान गरिएको यो स्कुटरमा डबल ब्याट्रीको सुविधा छ । निउका स्कुटरमा इनबिल्ट जीपीएस उपलब्ध छ । यसलाई विश्वकै प्रचलित स्मार्ट स्कुटर मानिन्छ ।

सुपर सोको
नेपाली बजारमा नयाँ कम्पनीका रूपमा सुपर सो समेत भित्रिने भएको छ । कम्पनीले नाडा अटो शोमा दुई मोटरसाइकल र एउटा स्कुटर ल्याउने तयारी गरेको बताएको छ । अटो शोमा सुपर सोकोका टिसी र टिसी म्याक्स मोटरसाइकल तथा सियू–डुकाटी स्कुटरको एउटा मोडल उतारिनेछ । सुपर शोको युरोपेली इलेक्ट्रिक सवारी उत्पादक ब्रान्ड हो ।

मियामा
जापानी कम्पनी मियाची मोटर्सले चीनमा उत्पादन गर्ने यी स्कुटर ५ वटा मोडलमा उपलब्ध छन् । त्यसमध्ये पहिलो हो, एसडी वान । १ हजार ५ सय वाट क्षमताको एसडी वानको मूल्य १ लाख ४९ हजार रुपैयाँ छ । त्यसैगरी एलवाई वानको मूल्य १ लाख ६५ हजार रुपैयाँ राखिएको छ । मियामाको अर्को मोडल हो– सिजे वाई । यसको मूल्य १ लाख ६४ हजार रुपैयाँ छ । जेवाई वान मियाचीको अर्को विद्युतीय मोडल हो । यसको मूल्य १ लाख ६८ हजार रुपैयाँ छ । टिएन ६ को मूल्य १ लाख ९६ हजार अंकित गरिएको छ । यीमध्ये अघिल्ला चार वटा स्कुटरलाई ४ देखि ६ घण्टामा फुल चार्ज गरेपछि १ सय किलोमिटरसम्म कुदाउन सकिन्छ भने टीएन ६ लाई २ सय किलोमिटर सम्म कुदाउन सकिन्छ ।

Page 24
अटो

अप्रिलियाका स्कुटर

- साप्ताहिक संवाददाता

अटो शोमा अप्रिलिया स्ट्रोम १२५, एसआर १२५ र एसआर १५० तथा एसआर १५० रेस स्कुटर पनि राखिनेछ । कम्पनीले अप्रिलिया स्ट्रोम १२५ को मूल्य २ लाख २४ हजार ९ सय, एसआरको १२५ को २ लाख ४० हजार ९ सय, अप्रिलिया एसआर १५० रेसको २ लाख ९३ हजार तथा एसआर १५० को २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अटो

रनरको एड्भेन्चर बाइक

- साप्ताहिक संवाददाता

रनरको २ सय सीसीको डर्ट बाइक अर्थात रनर हकले अटो शोमा धेरैको ध्यान खिच्ने अनुमान छ । नेपालमा यो मोडल ३ लाख ९९ हजारमा बिक्री भैरहेको छ । नेपाली बजारमा रनर हक रातो रङ्गमा मात्र उपलब्ध छ । उच्च ग्राउण्ड क्लियरेन्स भएको हक मोटरसाइकललाई पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिन्छ ।

अटो

केटीएम ड्युक २०० एबीएस

- साप्ताहिक संवाददाता

नाडा अटो शोमा ड्युक २०० एबीएस भर्सन सार्वजनिक गरिनेछ । यसको मूल्य करिब ५ लाख ४० हजार रुपैयाँ हुने अनुमान छ । अस्ट्रियाको टु–ह्विलर कम्पनी केटीएमले ड्युक २०० एबीएस केही महिना अघि भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यही बाइक नै अब नेपाली बजारमा उपलब्ध गराइने भएको हो ।

 

अटो

रोयल इन्फिल्डको गन मेटल ग्रे

- साप्ताहिक संवाददाता

रोयल इन्फिल्डको क्लासिक ३५० सीसी गन मेटल ग्रे अटो शोको एउटा प्रमुख आकर्षण हुनेछ । यो बाइक स्पोर्टी लुक, म्याट फिनिस, रियर डिस्क ब्रेक जस्ता विशेषतामा उपलब्ध छ । यो बीएस फोर मापदण्डयुक्त बाइक हो । हाल थपिएको रियर डिस्क ब्रेकका कारण यो बाइक टुरिङ एवं दैनिक राइडिङका लागि थप सुरक्षित भएको बताइएको छ । गन मेटल ग्रेको मूल्य ५ लाख १५ हजार रुपैयाँ पर्छ ।

अटो

हिरोका ३ बाइक

- साप्ताहिक संवाददाता

यो अटो शोमा हिरोले ३ वटा नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हिरोले एक महिनाअघि भारतीय बजारमा उतारिएको एडभेन्चर मोटरसाइकल एक्सपल्स–२००, एक्सपल्स–२०० टी तथा एक्सट्रिम २०० एस नेपाली बजारमा यही अटो शोमार्फत सार्वजनिक गर्ने बताएको छ ।

अटो

यामाहा एमटी १५

- साप्ताहिक संवाददाता

यामाहाले एमटी १५ बाइक तथा एनम्याक्स १५५ स्कुटर उपलब्ध गराउने भएको छ । एमटी १५ मा आर–१५ भी–३ कै इन्जिन छ । एमटी १५ एजाइल एक्सिलेरेसन, एजाइल ह्यान्डिलिङ एवं एड्भान्स डिजाइनको सन्तुलित परिणाम हो र यो लोअर इन्ड मोटरसाइकलबाट हायर इन्डमा अपग्रेड हुन चाहने युवा राइडरहरूप्रति लक्षित छ । डार्क थिमसहितको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन एवं प्रभावशाली डिजाइन यसका अन्य विशेषता हुन् ।

अटो

बजाज एनएस २०० एबीएस

- साप्ताहिक संवाददाता

बजाजले नेकेड बाइक एनएस–२०० को परिमार्जित एबीएस भर्सन उपलब्ध गराउने भएको छ । अब आउने परिमार्जित मोडलमा सिंगल च्यानल एबीएस जडान गरिएको छ । यो बाइकमा १९९ सीसी सिंगल सिलिन्डर ४ भल्भ तथा लिक्विड कुल्ड इन्जिन छ । यसमा डे टाइम रनिङ हेडलाइट तथा एलइडी टेलल्याम्प दिइएको छ । ६ स्पिडको गियर बक्स युक्त यो बाइकमा मल्टी डिस्क हाइड्रोलिक क्लच छ ।

अटो

बीएमडब्लूका बाइक

- साप्ताहिक संवाददाता

बीएमडल्युका दुई मोडल जी ३१० जीएस तथा जी ३१० आर बाइकलाई अटो शोमा शोकेस गरिनेछ । रातो र कालो रंगका जी ३१० आरको मूल्य ९ लाख ५० हजार रुपैयाँ छ । सेतो रङको जी ३१० आरको मूल्य ९ लाख ७५ हजार रुपैयाँ पर्छ । रातो र कालो रंगको बीएमडब्लू जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने सेतो रंगमा उपलब्ध यही मोडलको मूल्य ११ लाख १५ हजार रुपैयाँ तोकिएको छ । बीएमडब्लूका यी बाइकमा ३१३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । यसको अधिकतम पावर ३४ एचपी तथा टर्क २८ एनएम छ । यी बाइक नेकेड स्पोर्ट्स एवं एड्भेन्चर बाइक सेगमेन्टमा लोकप्रिय छन् ।

 

अटो

जीपीएक्स

- साप्ताहिक संवाददाता

थाइल्यान्डको जीपीएक्स ब्रान्ड नेपालमा भित्रिएको धेरै भएको छैन । जीपीएक्सका १५० सीसी सेग्मेन्टमा डेमन १५० जीएन, २०० सीसी सेग्मेन्टमा लिजेन्ड २०० एवं जेन्टलम्यान २०० मोटरसाइकल सार्वजनिक हुने भएको छ । डेमन १५० जीएनको मूल्य ३ लाख ९६ हजार ७ सय रुपैयाँ, लिजेन्ड २०० को मूल्य ४ लाख ६३ हजार ७ सय रुपैयाँ तथा जेन्टलम्यान २०० को मूल्य ५ लाख ८३ हजार ७ सय रुपैयाँ हुने बताइएको छ ।

Page 25
आवरण

अफरोड रोमाञ्च

- जनक तिमिल्सिना,एकराज सुवेदी

सुन्दरता सजिलो ठाउँमा हुँदैन
सुनाखरी सजिलो ठाउँमा फुल्दैन

अर्थात् सुन्दरताको आनन्द सहज ढंगले उठाउन पाइँदैन । यसको वास्तविक भाव राम साहभन्दा बढी कसलाई थाहा होला र ? सानै उमेरदेखि सर्लाहीका साहको लगाव घरबाट टाढा देखिने चुरेका स–साना पहाडी श्रृंखलाप्रति थियो । साह पछि काठमाडौं आए जहाँ उनी बाइक दौडाउन थाले, हिमाल, पहाड, खोचहरूमा ।‘सुन्दरताको अनुभव लिन साहसिक यात्रा गर्नैपर्दो रहेछ,’ साप्ताहिकसँगको भलाकुसारीमा साहले बताए । १४ वर्षदेखि बुलेट बाइक कुदाउन थालेका ३२ वर्षीय साहले १० वर्षयता २ दर्जनभन्दा बढी अफरोड राइडको नेतृत्व गरिसकेका छन् । ‘रारादेखि सोलुखुम्बुसम्म, मनाङदेखि केरुङसम्म अफरोड राइडिङको नेतृत्व गरिसकेको छु,’ नासा बुलेट क्लबका महासचिव तथा रोड लिडर साहले बताए ।
अफरोड राइडिङमा नयाँ पुस्ताको मोह लोभलाग्दो छ । काठमाडौं नैकापका निखिल ठकुरी सफ्टवेयर इन्जिनियरिङका ग्राजुएट हुन् । पेसागत दृष्टिले पैसा कमाउन उनी सफ्टवेयर इन्जिनियर हुनुपर्ने हो, तर प्यासनले उनको हातलाई कम्प्युटरबाट मोटरसाइकलको एक्सिलरेटरमा पुर्‍यायो । त्यसैले २७ वर्षीय यी तन्नेरी विगत ५ वर्षदेखि अफरोडमा रमाइरहेका छन् । ‘अफरोडिङ चुरोट, रक्सीको लतजस्तै रै’छ,’ ठकुरी भन्छन् ।
युवाहरूलाई मोहजालमा पार्ने अफरोडमा आखिर के छ ? ठकुरी भन्छन्, ‘अफरोडमा जे देखिन्छ, भोगिन्छ, स्ट्रगल हुन्छ, त्यो आफैंमा रोमाञ्चक छ ।’ अफरोड नेपालका सञ्चालक मध्येका एक ठकुरी कम्पनीको टुर अपरेटिङ पनि आफैं गर्छन् । उनले आफ्नो यो कम्पनीमार्फत दर्जनौं अफरोड राइडिङको नेतृत्व गरिसकेका छन् । १३ वर्षअघि पहिलो पटक युनिकर्न बाइक कुदाएका ठकुरी विभिन्न रेसिङ प्रतिस्पर्धा हुँदै अफरोड राइडिङमा आएका हुन् ।

झापाकी प्रियंका सिटौलाले अफरोडमा बाइक कुदाउन थालेको ३ वर्ष भयो । हाल काठमाडौंको बालाजुमा बस्दै आएकी १९ वर्षीया सिटौला सानैदेखि बाइक भनेपछि हुरुक्कै हुन्थिन् । ‘७ कक्षामा पढ्दा नै मैले बाइक चलाउन सिकिसकेकी थिएँ,’ ए लेभल गरेकी सिटौलाले भनिन्, ‘एलएलसीपछि भने बाइक नै लिएर हिड्न थाले ।’ सुरुमा आरसी २०० बाइक चलाएकी सिटौला अहिले २०० सीसीको अपाचे गुडाउँछिन् अनि अफरोड राइडिङमा फरक खालको आनन्द प्राप्त हुने अनुभव सुनाउँछिन् । ‘अफरोड राइडिङ गरेर मुस्ताङ, कालिन्चोक, धुलिखेल, केरुङ आदि ठाउँ पुगिसकेकी छु,’ सिटौलाले भनिन्, ‘मलाई डट बाइकमा अफरोडको यात्रा निकै मज्जाको लाग्छ ।’ प्रियंकालाई अफ रोडमा पाइने प्राकृतिक सुन्दरता, एडभेन्चरसँगै बृद्धि हुने कन्टोलिङ, पर्सनल राइडिङ स्किलजस्ता कुराले पनि आनन्द दिन्छ ।
राम, निखिल र प्रियंकासँगको भलाकुसारीबाट के निष्कर्षमा पुग्न सकिन्छ भने युवाहरूलाई अफरोडमा तान्ने मुख्य तीन चीज छन्— फ्रिडम, एडभेन्चर्स र नेचर । राइडिङ, त्यसमा पनि अफरोडमा जस्तो फ्रिडम अन्यत्र कतै भेटिँदैन । एडभेन्चर्स नेपालका अफरोड बाटोहरूमा जस्तो मज्जा अरू कहाँ पाउन सकिएला र ? एकातिर कतै बगिरहेका नदी, कतै उर्लिरहेको भेल, पाइला–पाइलाका चुनौती । अर्कातर्फ खोंच, हरियाली फाँट, कलकल बगिरहेका ठूला–ठूला झरनाहरू, हिमाली फेरो, निश्चल हावा अनि घना जंगलहरू । सम्भवतः अफरोडको यही आकर्षणले युवापुस्तालाई लत लगाएको छ ।
पारखीहरू काठमाडौं वरपरका अफरोड ट्रेलहरूसँगै मनाङ, मुस्ताङ र रारासम्मका अफरोडमा हुइँकिइरहेका हुन्छन् । केही कम्पनीले अफरोड राइडिङ इभेन्ट नै आयोजना गर्न थालेका छन् । अफरोड राइडरहरूको यकिन तथ्यांक भने कसैसँग छैन् । समूह–समूह बनाएर आफै पनि अफ रोड राइडिङको स्वाद लिन निस्किने भएकाले यसको निश्चित तथ्यांक निकाल्न गाह्रो छ ।
नासा बुलेट क्लबले अफरोड राइड यात्रा गराउन थालेको एक दशक भैसकेको छ । क्लबका सदस्यहरू व्यवसायिक रुपमा नभै आफ्नै मनोरञ्जनका लागि समूह बनाएर विभिन्न स्थान पुग्ने गरेका छन् । बाइकर्ज अस नेपालले विभिन्न समूहलाई यस्तै स्थानको भ्रमण गराइरहेको हुन्छ । साप्ताहिकले सम्पर्क गर्दा गत साता बाइकर्ज असका सह–संस्थापक अतीत श्रेष्ठ उपल्लो मुस्ताङमा थिए । मुस्ताङमा हुने यार्तुङ पर्वको सम्झना गर्दै उनी त्यहाँ पुगेका हुन् । कुनै बेला अस्ट्रेलियामा रहँदा उनले नेपालमा यस प्रकारको पर्यटन प्रवर्द्धन गर्ने कल्पनाका साथ कम्पनी स्थापना गरेकाले त्यसको नाम पनि बाइकर्ज अस राखिएको श्रेष्ठ बताउँछन् । अतीत विदेशी राइडरहरूलाई समेत निमन्त्रणा पठाएर नेपाली प्रकृतिको आनन्द लिन अनुरोध गर्छन् र विभिन्न स्थान घुमाउन लान्छन् । अतीतले काठमाडौंमा स्थापना गरेको जेनेसिस क्याफे यस्तै बाइकरहरू भेला हुने थलो हो, जहाँ बाइकिङ वातावरणको अनुभव समेत गर्न सकिन्छ ।
बाइकरहरूका लागि नेपालका रमणीय स्थल मुक्तिनाथ, उपल्लो मुस्ताङ, मनाङ आदि स्वर्ग नै हुन् । यही तथ्य बुझेका दीपक साह २०१० मा पहिलो पटक बाइकमै मुक्तिनाथ गएका थिए । त्यतिबेला मानिसहरू हेलिकप्टर वा हवाईजहाज चढेर मुक्तिनाथ पुग्थे । अहिले जस्तो सहज बाटो थिएन, भर्खर ट्र्याक खुलेको थियो । साह भन्छन्, ‘अपर मुस्ताङमा पनि म नै पहिलो पटक बाइकमा गएको थिएँ । मैले रेकी गरेर आएपछि अरूहरू पुगे ।’ नेपालका कठिन सडकमा बाइक चलाएर आफू नै पहिलो पटक पुग्ने गरेको साहको दाबी छ । उनको मुक्ति राइड नामक क्लब छ । उक्त क्लबमार्फत भारतको बेंगलुरु, गोवा, मुम्बई, पुना आदि स्थानबाट आएका साथीहरू नै उनका साथमा नेपालका विभिन्न स्थानमा पुग्छन् । सोलो राइडका लागि दीपक साह उदाहरणीय मानिन्छन् ।

मुख्यतयाः टुरिज्म र एडभेन्चर्ससँग जोडिएको अफरोड राइडिङ गर्न रुचाउनेहरू काठमाडौंमा मात्र ४ सयभन्दा बढी भएको अनुमान गर्छन्— हिमालयन इन्फिल्डर्सका सञ्चालक प्रमोद श्रेष्ठ ‘गुफी’ । ‘नेपालमा अहिले झन्डै ४ सय हाराहारीमा अफरोड राइडर हुन सक्छन्,’ श्रेष्ठ भन्छन्, ‘यो संख्या अझ वृद्धि हुन सक्थ्यो, तर इन्स्योरेन्सले कभर नगर्ने भएकाले हुन सकेको छैन् ।’ प्रमोद अफरोड राइडिङलाई एडभेन्चर्स थ्रिलिङ मान्छन् । ‘हरेक मोडमा केही च्यालेज छ, ढुंगा, हिलो, खाल्डो हरेक ठाउँमा एक्टिभ हुनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘यो एउटा थ्रिलिङ गेम नै हो ।’
व्यवसायीहरूका अनुसार नेपालमा औसत १८ देखि ४५ वर्ष उमेर समूहकाहरूले अफरोड राइडिङ गर्छन् । प्रमोद त १८ देखि ३५ वर्षका बढी सक्रिय रहेको तर्क गर्छन् । ‘उनीहरूमा म गर्न सक्छु भन्ने आँट हुन्छ । यो जोसिलाहरूले खेल्ने खेल हो,’ उनी भन्छन् । सामाजिक परिवेश, शारीरिक अवस्था र अन्य विविध कारणले महिलाहरू भने अफरोडिङमा उति छैनन्, हुँदै नभएका भने होइनन् । ‘नासा बुलेट क्लबमा झन्डै एक दर्जन लेडी राइडर छन्,’ क्लबका अध्यक्ष प्रकाश लिम्बु भन्छन् ।

अफरोड बाइक
अफरोड राइडका लागि विशेष गरी डर्ट बाइक प्रयोग गरिन्छ । डर्ट बाइकमा त्यसै किसिमको टायर, सस्पेन्सनका साथै अन्य विभिन्न पार्ट्स प्रयोग गरिएको हुन्छ । यी बाइक हल्का हुन्छन् । यस्ता बाइकको मूल्य ५ देखि १२ लाख रुपैयाँसम्म पर्ने व्यवसायीहरू बताउँछन् । जसमा १ सय ५० र २ सय ५० सीसीसम्मका हल्का बाइक बढी प्रयोग गरिन्छ । अफरोडमा प्रयोग हुने बाइकमा सस्पेन्सन अनि ब्रेक राम्रो हुनुपर्छ । यस्ता बाइकको विशेषता एकदमै चाडो पावर पिकअप गर्नु पनि हो । यस्ता बाइकका इन्जिन, च्यासिस र सकबाहेक सबैजसो भाग प्लास्टिकले बनेका हुन्छन् । अफरोडमा प्रयोग हुने बाइक लडे पनि उठाउन सकिने अर्थात् हल्का वजनका हुन्छन् ।
पछिल्लो समयमा अफरोड राइडकै लागि चिनिएका थुप्रै कम्पनीका बाइक नेपाल भित्रिएका छन् । क्रसफायर, क्रसएक्स, होन्डा सीआरएफ आदि अफरोडका लागि प्रचलित बाइक हुन् । त्यसैगरी सुजुकी, बीएमडब्ल्यु, मोटरहेड, एसडब्लूएम, हस्कभर्ना आदि ब्रान्डका बाइक समेत अफरोडका लागि भनेरै भित्रिएका छन् । बाइकमाण्डू, अफरोड, बाइकर्ज अस, हट्स एन्ड टियर्स, सेक्रेड समिट, स्मोकिङ ज्युज, हिमालयन इनफिल्डर्स, बाइकर्स नेपाल, नासा बुलेट क्लब आदिले नेपालमा अफरोड राइडिङ गराउँदै आएका छन् ।

व्यवसाय बन्दै
अफरोड राइडिङले नेपालमा व्यवसायको रुप लिइसकेको छ । विभिन्न कम्पनीहरू स्वदेशी तथा विदेशीहरूका लागि अफरोड राइडिङ इभेन्टको आयोजना गरिरहेका हुन्छन् । पछिल्लो समय कर्पोरेटहरूको आकर्षण पनि अफरोडमा बढ्दो छ । खासगरी, काठमाडौं वरपरका सिटी अफरोड ट्रेलहरूमा कर्पोरेट पर्सनहरूका लागि पनि अफरोड इभेन्टहरू आयोजित हुन थालेका छन् ।
साधारणतयाः १ सातादेखि १३ दिनसम्मको अफ रोड इभेन्ट गर्ने अफरोड राइडले वर्षमा करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्छ । उसको भगिनी कम्पनी बाइकर्स नेपालका काठमाडौं, भक्तपुर, पोखरा, बुटवल, इटहरी, धरान, इलाम, चितवन आदि ठाउँमा २ सय बढी सदस्य छन् ।
अफरोड राइडिङ गराउने अर्को कम्पनी क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल इम्पोर्ट एक्सपोर्टका सिनियर सेल्स म्यानेजर अरुण लामा आफूहरूले वार्षिक रुपमा १० देखि १५ वटा अफरोड राइड गराउने कुरा बताउँछन् । ‘अफरोड राइड र डर्ट बाइकमा क्रसफायरले क्रान्ति नै गरेको छ,’ लामा दाबी गर्छन् । एक अफरोड राइडमा १० देखि ६० जनासम्म सहभागी गराउने क्रसफायरले वर्षमा झन्डै ३ सयजतिलाई अफरोड राइड गराउँछ । अफरोड राइड र क्रसफायरबाहेक अन्य विभिन्न कम्पनीले पनि अफरोड राइड गराइरहेका छन् । नासा बुलेट क्लबले वर्षमा ३ देखि ५ वटा अफ रोड राइडिङ इभेन्ट गर्छ । हिमालयन इन्फिल्डर्स, सेक्रेड समिट आदि यो क्षेत्रमा नाम चलेका कम्पनी हुन् । केही व्यवसायीका अनुसार यो क्षेत्रमा त्यति प्रतिस्पर्धा नभएकाले आर्थिक प्रतिस्पर्धा पनि उति धेरै छैन ।

विदेशीहरूको आकर्षण
प्राकृतिक विविधताले भरिपूर्ण नेपालको अफरोडमा नेपाली राइडरहरू मात्र रमाउँदैनन् । विदेशी राइडरहरू पनि उत्तिकै रमाउने गरेका छन् । विदेशबाट नेपालका अफरोडमा राइडिङका लागि पुरुषमात्र आउँदैनन्, महिलाहरू पनि आउने गरेका छन् । अफरोड नेपालले गत वर्ष मात्र स्विजरल्यान्डका युवतीहरूलाई अफरोड राइड गराएको थियो । हिमालयन इन्फिल्डर्सका प्रमोद श्रेष्ठ ‘गुफी’ विदेशीहरू अफरोड राइडिङमा रमाउने र यसैका लागि नेपाल आउने कुरा बताउँछन् ।
नेपाली पर्यटन व्यवसायीहरूमध्ये नेपालमा अफरोड राइड गराउनेहरू थाइल्यान्ड, इन्डोनेसिया आदि देशमा पुगेर त्यहाँका अफरोड राइडिङ कम्पनीसँग राइडिङका टेक्निकहरू सिकेर नेपाल आउँछन् । युवा व्यवसायीहरू यो क्षेत्रमा रहेकाले उनीहरूले फ्री ट्रेल राइडिङमा गएर अफरोडमा इन्टरनेसल कम्पनीहरूको वर्किङ चेन सिक्ने गरेका छन् ।

गाडीमा अफरोड ड्राइभ
केही महिना पहिले टोयोटा रस मुक्तिनाथ पुर्‍याइयो । नेपाली बजारमा पहिलो पटक भित्रिएको टोयोटा रस अफरोड राइडका लागि समेत उपयुक्त छ भनेर प्रमाणित गर्नु थियो । त्यसैले टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले एउटा इभेन्ट नै आयोजना गरेको थियो ।
गाडीमार्फत अफरोड राइडिङ गराइरहेको इम्याजिन नेपालले २०७३ मंसिरमा एकै पटक ८० जनाको समूहलाई मनाङ पुर्‍याएको थियो जसलाई यति धेरै संख्यामा पहिलो पटक सो स्थानमा पुगेको नेपाली पर्यटकको समूह भनिएको थियो । केही समयअघि इम्याजिन नेपालले नेपाली कर्पोरेट सेक्टरका उच्च पदस्थहरूलाई रारा पुर्‍याएको थियो । महिन्द्रा एड्भेन्चरसँग मिलेर आयोजित उक्त अफरोड राइड यो क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि थियो ।
गाडी अफ रोड ड्राइभ बाइक अफ रोडिङको तुलनामा निकै महँगो छ । त्यसैले अहिले नेपालमा गाडी कम्पनीहरूले नै अफरोड ड्राइभ गराइरहेका छन् । फोर्ड, टोयोटा, रेनो, महिन्द्रा आदि कम्पनीले आवश्यकता अनुसार आफ्नो व्यवसाय प्रवर्द्धनका लागि इभेन्ट गरिरहेका छन् ।अफरोड ड्राइभका लागि इम्याजिन नेपाल वाहेक यति ट्राभल, बाइकर्ज अस नेपाल, हिमालयन इन्फिल्डर्स, स्मोकी पोखरा आदि पनि सक्रिय छन् ।

कति हुन्छ खर्च ?
कम्पनी, समय तालिका, ठाउँ, प्रयोग हुने साधनलगायतका कुराले पनि यसमा लाग्ने खर्चलाई प्रभावित गरिरहेको हुन्छ । विदेशीका लागि औसत एक दिनको २ सय डलरदेखि १३ दिनको ५ हजार ५ सय डलरसम्मका प्याकेज उपलब्ध गराइन्छ । नेपालीहरूको हकमा १७ हजारदेखि डेढ लाख रुपैयाँसम्मको प्याकेज बाइकर्स नेपालले उपलब्ध गराउँदै आएको छ । नेपालीका लागि बाइक, इन्धन आफैंले प्रयोग गर्‍यो भने त्यो रकम अझ घट्छ । ‘यसमा खानादेखि मेकानिक्स खर्चसम्म सबै समावेश हुन्छ,’ निखिलले बताए । कम्पनीहरूको शुल्क भने एकैनासको हुँदैन, १ हजार ५ सयदेखि डेढ लाखसम्मका अफ रोड राइडिङ प्याकेज कम्पनीहरूले नेपालीका लागि उपलब्ध गराउँदै आएका छन् । क्रसफायरले नेपालीका लागि एक साताको ४०–५० हजार रुपैयाँ शुल्क लिन्छ जसमा लजिङ, फुडिङ र पेट्रोल सबैको व्यवस्था हुन्छ, साधन भने आफ्नै हुनुपर्छ । विदेशीका लागि भने उनीहरूको प्याकेज केही महँगो छ ।

अफरोड राइड पहिरन
अफरोड राइडिङका लागि सेफ्टी इक्विपमेन्ट पनि आवश्यक हुन्छ । कतिपय बाइक निर्माता कम्पनी आफैले बाइकका इक्विपमेन्ट, एसेसरिजका क्याटलगहरू निःशुल्क उपलव्ध गराउँछन् । यसले गर्दा बाइक राइडरहरूले बाइकको पार्ट्स तथा एसेसरिजहरू आफूले चाहे जस्तै छनौट गर्न सक्छन् । कम्पनीमै निर्मित फुल एसेसरिज वुट्, ग्लोव्स, ज्याकेट, हेल्मेटलगायतका आन्तरिक एवं बाह्य सबै एसेसरिज कम्पनीकै ब्राण्डमा उपलव्ध हुन्छन् । बाइक राइडरकै इच्छामा बाइकलाई मोडुलेसन गरेर मात्र हस्तान्तरण गरिन्छ ।
बाइक राइडरको सुरक्षाका लागि आवश्यक पञ्जा, ज्याकेट, ब्यागलगायतका इक्विपमेन्ट्स निकै महत्वपूर्ण छन् । यी इक्विपमेन्ट्सले कथंकदाचित दुर्घटना भैहाले पनि मोटरसाइकल चालकलाई सुरक्षित राख्न सहयोग पुर्‍याउँछन् । यस प्रकारका पञ्जामा सिन्थेटिक फाइबर, लेदर, कार्बन फाइबर तथा टाइटानियम प्रयोग गरिएका हुन्छन् भने ज्याकेटमा कुम, कुहिनो, छाती, ढाड आदिको बचावटका लागि विशेष सामग्री राखिएका हुन्छन् ।
अफरोड राइडमा जानेहरू यी इक्विपमेन्ट वाहेक जाडो र गर्मी अनुसार सहज हुने पहिरन प्रयोग गर्छन् । अफरोड राइडमा जानुपूर्व अनिवार्य रूपमा बाइक चेक, सर्भिसिङ आदि गराइन्छ ।

बढ्दै अफरोड प्रतियोगिता
६ दिन सम्म साढे ४ सय देखि ५ सय किलोमिटरसम्म प्रतिदिन बाइक चलाउनुपर्ने, त्यो पनि अफरोडमा । औसत गति ७५ देखि ९० किलोमिटर प्रतिघण्टा । यति स्पिड नभए प्रतियोगिताबाटै बाहिरिनुपर्ने । तापक्रम माइनस २० देखि माइनस २५ डिग्री सेल्सियस सम्म । १५ हजार फिटसम्मको उचाइ । भारतमा गत अक्टोबर ८ देखि १४ सम्म सम्पन्न रेड डी हिमालयको २० औं संस्करणमा नेपालबाट दीपक साह सहभागी भएका थिए । रोयल इन्फिल्ड बिधामा सहभागी साहले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै उपाधि जिते । नेपाली राइडरहरूका लागि त्यो एउटा उल्लेखनीय उपलब्धि थियो ।
विदेशमा यस्ता प्रतियोगिता भैरहन्छन् । नेपालमा समेत अफरोड राइडिङमा रमाउनेहरूका लागि विभिन्न प्रतियोगिता आयोजित हुन थालेका छन् । यसमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र यससँग आबद्ध विभिन्न कम्पनीहरूका साथै बाइक आयातकर्ता कम्पनीहरूको समेत महत्वपूर्ण भूमिका छ । केही वर्ष यता अफरोड ट्र्याक निर्माण गरी काठमाडौंका विभिन्न स्थानमा क्रसमान्डु नाममा विभिन्न प्रतियोगिताहरू भैरहेका छन् ।
अफरोड राइडिङमा बजाजले आयोजना गर्ने पल्सर डेयरभेन्चरको पनि महत्वपूर्ण भूमिका छ । बजाज मोटरसाइकल आयातकर्ता हंसराज एन्ड हुलासचन्द कम्पनीले लोकप्रिय मोडल पल्सरको प्रवर्द्धन गर्न आयोजित गर्दै आएको ‘पल्सर डेयर भेन्चर’को चौथो संस्करण यस पटक भारतको लद्दाखमा सञ्चालन गरिने भएको छ । यसभन्दा पहिले यसका तीन वटा संस्करण सम्पन्न भैसकेका छन् ।

  

अफरोड ट्रयाक
- उपल्लो मुस्ताङ
- मनाङ
- तल्लो मुस्ताङ
- मुक्तिनाथ
- रारा
- ताप्लेजुङ
- इलामको सन्दकपुर
- सोलुको फाप्लु, जुनबेसी, नाजिङ
- दोलखाको शैलुङ आदि ।

Page 28
पहिलो विश्व

सर्वाधिक लामो कार

- साप्ताहिक संवाददाता

लिमोजिन कारलाई विश्वकै सर्वाधिक लामो मात्र नभै विलासी कार पनि मानिन्छ । यो कार लामो भएकै कारण यसलाई लिमोजिन नाम दिइएको हो । सवारी साधनमा ख्याति कमाएका मर्सिडिज, ह्याम्मर जस्ता कम्पनीले यो मोडलको फर्म्याटमा कार निर्माण गर्छन् । लिमोजिन कारमध्ये पनि सबैभन्दा लामो अमेरिकी ड्रिमर कम्पनीद्वारा निर्मित कारलाई मानिन्छ । १ सय फिट लामो उक्त कारमा २६ वटा पाङ्ग्रा छन् । हेलिप्याड, स्विमिङ पुल, सन वाथ, ज्याकुजी, किचेन, वेडरुम, वाथरुमसमेत भएको यो कारलाई अगाडि र पछाडी दुवै तर्फवाट चलाउन मिल्ने किसिमले निर्माण गरिएको छ ।

पहिलो विश्व

पहिलो कार रेस

- साप्ताहिक संवाददाता

सन् १८८० मा पेट्रोललाई इन्जिनको शक्तिमा विकास गरिएपछि सवारी साधनको विकास हुन थालेको हो । सन् १८९४ मा पहिलो पटक पेरिसदेखि रुइनसम्म ८० किलोमिटर लामो रेस भएको थियो । उक्त रेसमा सवारी साधनको गति १६ दशमलव ४ किलोमिटर प्रतिघण्टा थियो । आधिकारिक रूपमा पहिलो मोटर रेस सन् १८९५ मा सञ्चालन भयो । पेरिसदेखि बोर्डुएक्ससम्मको १ हजार १ सय ७८ किलोमिटर लामो उक्त रेसमा सहभागी रेसरहरूले आफ्नो कारलाई २४ दशमलव १५ किलोमिटर प्रतिघन्टाको
रफ्तारमा गुडाएका थिए ।

पहिलो विश्व

कार

- साप्ताहिक संवाददाता

- विश्वमा अहिले १० खर्ब कार चलिरहेका छन् ।
- संसारमा प्रत्येक दिन १ लाख ६५ हजार कार उत्पादन हुन्छन् ।
- कार चढेर प्रतिघण्टा ९५ किलोमिटरको रफ्तारमा दौडने हो भने चन्द्रमा पुग्न ६ महिना लाग्छ ।
- एउटा कारमा औसत रूपमा ३० हजार पाटपुर्जा हुन्छन् ।
- ब्राजिलमा बिक्री हुने कारमध्ये ९२ प्रतिशतमा इथानोललाई इन्धनका रूपमा प्रयोग गरिन्छ ।
- रोल्सरोयल कम्पनीले उत्पादन गरेका कारमध्ये ७५ प्रतिशत कार अझै पनि सडकमा गुडिरहेका छन् ।
- अमेरिकीहरू सवारी जाममा परेर वर्षको ३८ घन्टा गाडीभित्रै बिताउँछन् ।
- पहिलो सवारी दुर्घटना सन् १८९१ मा अमेरिकाको ओहियोमा भएको थियो ।
- एक अनुमानअनुसार प्रत्येक ५ हजार व्यक्तिमध्ये एक जनाको सवारी दुर्घटनामा मृत्यु हुन्छ ।
- रसियामा फोहोर कार चलाउनु अपराध मानिन्छ ।
- कारमध्ये सर्वाधिक तीव्र गतिमा गुड्ने कार बुगाटी भेरोन हो । यो कार ४ सय ३१ किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्छ ।

पहिलो विश्व

कार चलाएर कमाउने

- साप्ताहिक संवाददाता

ड्यानिका प्याट्रिक

नास्कर अटो रेसकी प्रतिस्पर्धी ड्यानिका प्याट्रिक मोटर रेसवाट सर्वाधिक आम्दानी गर्ने महिला मानिन्छिन् । २०१७ देखि कार रेसमा सहभागी हुन थालेकी प्याट्रिकले त्यसयता मोटर रेसमार्फत १ अर्ब १६ करोड ३९ लाख रुपैयाँ आम्दानी गरिसकेकी छिन् । उनले प्रायोजकहरूबाट मात्र ५९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेकी थिइन् ।

 

लुइस ह्यामिल्टन

फर्मुला वान रेसर लुईस ह्यामिल्टन कार रेसबाट सर्वाधिक कमाउने चालक मानिन्छन् । उनले वार्षिक रूपमा विभिन्न प्रतियोगिता जितेर गत वर्ष मात्र ४ अर्ब ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेका थिए । लुइसलाई विभिन्न कम्पनीले ब्रान्ड इन्डोर्समेन्ट गराएबापत ३३ करोड ९० लाख रुपैयाँ तिरेका थिए ।

Page 29
यौन र जीवन

बेलैमा यौन तथा प्रजनन शिक्षा

- पदमराज जोशी

कुनै बेला थियो, माध्यमिक तह तथा कलेजाको कक्षाकोठामा यौन र प्रजननका कुरा उठ्नासाथ विद्यार्थीले मुख छोप्नेमात्र होइन, शिक्षकहरूकै पनि अनुहार रातो हुन्थ्यो । पाठ्यपुस्तकमा यौनसँग सम्बन्धित विषयवस्तु भए शिक्षक यो पाठ तिमीहरू आफैं पढ्नु भन्दै अर्को पाठतिर जम्प गर्थे । विद्यार्थीहरू पनि लजाउँदै भन्थे, हुन्छ सर । यद्यपि अब ती दिन रहेनन् । सहरी क्षेत्रमा मात्र होइन, ग्रामीण भेगका विद्यालयहरूमा समेत यौन तथा प्रजनन विषयका शिक्षक र विद्यार्थीबीच खुला छलफल एवं बहस हुन थालेको छ अहिले । समाजमा पनि यो विषयमा बहस चल्न थालेको छ । यौनका समस्या अब पहिलेको जस्तो बोल्नै नसक्ने लाजको विषय रहेन । यौन लाजले छोप्ने वा लुकाउने रहस्यको पोकोभन्दा पनि सहज रूपमा संवाद गर्ने खुला विषय बन्न थालेको छ । यौन शिक्षाका कारण यौन तथा प्रजननप्रतिको निषेधको मनोविज्ञान क्रमशः सकारात्मक बन्दै छ । स्कुल अध्ययनरत किशोरकिशोरीले पनि यसलाई सहज रूपमा ग्रहण गर्न थालेका छन् । अहिले निजी स्कुलका विद्यार्थीमात्र नभएर सरकारी स्कुलका किशोरकिशोरी तथा शिक्षकहरू यौनका विषयमा कुनै संकोच मान्दैनन् । सत्य–तथ्य जानकारी लिन्छन् । इन्टरनेटको सहज पहुँचका कारण पनि छात्रछात्राहरू कतिपय स्कुलका यौन तथा प्रजनन स्वास्थ्यका केही कुरामा शिक्षकभन्दा अगाडि छन् । सरकारी स्कुलमा अध्ययनरत विद्यार्थीमात्र नभएरस्वास्थ्य शिक्षा पढाउने अधिकांश शिक्षक पढाउदा संकोच मान्ने एउटै कारण हो, स्वास्थ्यमा समावेश यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समेटिएको विषयवस्तु । स्कुल शिक्षामा कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तकहरू जस्तै स्वास्थ्य, जनसंख्या, वातावरण, समाजिक शिक्षा, विज्ञान आदिमा कुनै न कुनै रुपमा जिवनउपयोगी यौन तथा प्रजनन स्वास्थ्यका कुरा समावेश गरिएको छ । यी विषयमा महिला एवं पुरुषका प्रजनन अंगहरू, सुरक्षित यौनसम्पर्क, किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन, प्रजनन प्रक्रिया, एचआईभी, एड््स, स्वप्नदोष, रजश्वला, गर्भपतनलगायतका विषयवस्तु समावेश छ । यिनै विषयवस्तुमा लजाउने शिक्षक अहिले निःसंकोच पढाउन थालेका छन् ।
शिक्षकको एकल प्रयासले मात्र नभएर विद्यार्थी र समाजको ज्ञानको दायरा फराकिलो हुँदै गएपछि यी विषय पढाउन सहज हुँदै गएको शिक्षकहरू बताउँछन् । कक्षाकोठामा पढाइएको विषयवस्तु अपुग भएपछि किशोरकिशोरीहरूले थुप्रै ठाउमा यौन शिक्षासम्बन्धी आवश्यक जानकारी गराउन युवा सूचना केन्द्र स्थापना गरेका छन् । त्यस्ता सूचना केन्द्रमा यौन स्वास्थ्यका विषयमा निःसंकोच छलफल चलाएर समस्याको समाधान खोजिन्छ । किशोरकिशोरीबाट अभिभावकहरूले समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा जानकारी पाउन थालेका छन् । देशका कैयौं ठाउँका किशोरकिशोरीले यौन शिक्षाका साथै विवाह गर्ने उमेरका विषयमा सही सूचना प्रवाह गर्दै बाल विवाह रोक्ने अभियान चलाएका छन् । फलस्वरुप गाउँमा बालविवाह गर्ने क्रम घट्दो छ । सिन्धुपाल्चोक टेकानपुरका लक्ष्मण भट्टराई भन्छन्, ‘पहिले–पहिले २० वर्ष पार गरेका अविवाहित केटी फेला पार्नै सकिँदैनथ्यो, जसका कारण अधिकांश महिलाले प्रजनन स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्नु पर्थ्यो भने अहिले अधिकांश छोरीको विवाह २० वर्ष कटेपछि मात्र हुन थालेको छ ।’ सरकारले पनि बाल विवाह रोक्न कानूनमा परिमार्जन गरेर विवाह गर्ने उमेर २० वर्ष कायम गरेको छ ।
पछिल्ला केही वर्षयता इन्टरनेटको पहुँच बढ्दै गएपछि यौन तथा प्रजनन स्वास्थ्यका विषयमाथि विद्यालयमा पनि खुल्ला छलफल हुन थालेको शिक्षकहरू बताउँछन् । अधिकांश विद्यार्थीले यो विषयमा आवश्यक सूचना इन्टरनेटबाट पाइसक्ने हुनाले पनि शिक्षकलाई विषयवस्तु पढाउन सहज छ । स्वास्थ्य विषय पढाउने सरकारी स्कुलका अधिकांश शिक्षकले विशेष तालिम लिएका हुन्छन् । पहिले स्कुलमा पाठ्यपुस्तकबाहेक यस विषयमा पढ्न र जान्न खोज्नेका लागि कुनै पाठ्यसामग्री थिएन । अहिले परिवार नियोजन संघको सहयोगमा सरकारी स्कुलमा सन्दर्भ सामग्रीका रूपमा पाठ्यपुस्तक उपलब्ध छन् । यी पाठ्यसामग्रीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी दिइएको छ । अधिकांश विद्यालयमा इन्टरनेटको सुविधा छ, जसका कारण यो विषय सहज बन्दै गएको शिक्षकहरू बताउँछन् । गाउँ–गाउँमा स्थापना भएका आमा समूहहरूले पनि यौन शिक्षालाई व्यवहारिक बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । आमा समूहका नियमित बैठकमा महिला बेचबिखन, बालविवाह, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुल्ला छलफल हुने गरेको छ । जसका कारण यो विषय अब विस्तारै सहज बन्दै गएको छ । अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका जीवनोपयोगी पक्ष पाठ्यक्रममा समावेश गर्नुपर्नेमा विज्ञहरू एकमत छन् । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सही सूचना नपाउँदा र पाएको सूचनाको पनि सदुपयोग गर्न नसक्दा अहिले पनि असुरक्षित गर्भपतन गराउने प्रवृति पूर्ण रूपमा रोक्न सकिएको छैन् ।
हरेक आमा बुबाले आफ्ना छोराछोरीलाई दैनिक जीवनमा आईपर्ने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनाकारी दिन लाज मान्नु हुँदैन । किनभने सही जानकारीको अभावमा उनीहरू ठूलो संक्रमणको दलदलमा फसेका उदाहरण समाजमा थुप्रै छन् । यसमा पनि विशेष गरि एउटी आमाले किशोरी हुन थालेकी छोरीलाई उसमा आउन लागेको शारीरिक परिवर्तन, मानसिक परिवर्तन, रजस्वलाजस्ता विषयमा बेलैमा सही परामर्श नदिने हो भने त्यसले अकल्पनीय घटनासम्म घटाउन सक्छ । यौन तथा प्रजनन शिक्षाको सही ज्ञान नहुँदा अहिले कैयौं किशोरी यौन सम्पर्क गर्दा परिवार नियोजनको साधन प्रयोग नगर्ने तथा असुरक्षित यौन सम्पर्कका कारण अनिश्चित गर्भाधारण गर्ने अनि त्यसपछि पटक–पटक गर्भपतन गराउने प्रवृत्ति देशैभरि बढिरहेको पाइएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । चिकित्सकहरूका अनुसार यसले महिलाको पाठेघर बिग्रने, सक्रमण हुने, तल्लो पेट दुख्ने, बाँझोपनको समस्या सृजना हुने, प्रजनन स्वास्थ्यसम्बन्धी समस्या आउने जस्तै दर्जनौं समस्याले शरीरमा डेरा जमाउन सक्छ ।
यौन तथा प्रजनन स्वास्थ्यका विषयप्रतिको संकोच घट्दै गएपछि यसको सकारात्मक परिणामसमेत देखिन थालेको छ । कलिलै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, बीचमै पढाइ छोड्ने, घरेलु हिंसा हुने तथा मातृ मृत्यु र बाल मृत्युदर बढ्ने कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको सही जानकारी नहुनु भएकाले बेलैमा यससम्बन्धी जानकारीले धेरैजसो समस्या समाधान भएर जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पुष्पा चौधरी बताउँछिन् । नेपालमा पछिल्ला वर्ष एचआईभी संक्रमण दर घट्दै जानुको प्रमुख कारणमध्येको एउटा कारण यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको पहुँच भएको डा. चौधरीको ठम्याइ छ ।

यौन र जीवन

यौन : नसुनिएका तथ्य

- साप्ताहिक संवाददाता

- यौनसम्पर्क गर्दा कामकाजले सिर्जना गरेको तनाव कम हुनुका साथै टाउकाको पीडा पनि निको हुन्छ ।
- लगभग २५ प्रतिशत पुरुष जुनसुकै समयमा पनि यौनसम्पर्ककै बारेमा सोचिरहेका हुन्छन् ।
- यौन क्रियाको चरम अवस्थामा स्त्री–पुरुष दुवैको हृदयको धड्कन १ सय ४० प्रतिमिनेटसम्म पुग्छ ।
- महिलाहरू ४५ वर्षको उमेरसम्म औसत ३ हजारपटक यौनसम्पर्क राख्छन् ।
- ४० वर्षको उमेरसम्मका पुरुषहरूको यौनांग केवल १० सेकेन्डमै उत्तेजित हुन्छ ।
- संसारमा सबैभन्दा बढी यौन सम्पर्क राख्ने दम्पति ग्रीसका मानिन्छन्, उनीहरू वार्षिक औसत १ सय ३८ पटक यौनसम्पर्क राख्छन् । त्यसैगरी सबैभन्दा कम यौन सम्पर्क राख्ने दम्पति जापानी हुन्छन्, उनीहरू एक वर्षमा औसत ४५ पटकमात्र यौन सम्पर्क राख्छन् ।
- पुरुषको लिंगबाट प्रवाहित हुने वीर्यको गति ३६ दशमलब ९ किलोमिटर प्रतिघण्टा हुन्छ, जुन युसेन बोल्टले १ सय मिटरको दूरीमा कायम गरेको विश्व कीर्तिमान बराबर मानिन्छ ।
- एक वयस्क पुरुषको अण्डकोशमा यतिधेरै शुक्राणु हुन्छन् कि त्यसलाई ४ सय ४ मिटरसम्म विस्तार दिन सकिन्छ ।
- एउटा सानो क्याप्सुलमा यति धेरै शुक्राणु राख्न सकिन्छ कि ती शुक्राणुको सहयोगले अहिले पृथ्वीमा रहेको मानिसको जनसंख्याभन्दा बढी जनसंख्या बनाउन सकिन्छ ।
- यौनसम्पर्कका बेला महिलाहरूको स्तन र योनीका अतिरिक्त नाकको भित्री भाग पनि फुलेर आउँछ ।
- यौनसम्पर्क गर्दा पुरुषको दाह्री अरु अवस्थाको तुलनामा बढी तीव्र गतिले बढ्छ ।
- एकपटकको यौन सम्पर्कमा पुरुषले लगभग १ सय क्यालोरी ऊर्जा खपत गर्छ ।
- ब्राजिलका युवायुवतीहरू अन्य कुनै पनि देशका युवायुवतीको तुलनामा सबैभन्दा छिटो आफ्नो कौमार्य गुमाउँछन् ।
- धेरै रक्सी पिउने पुरुषलाई महिलाहरूले सबैभन्दा पहिले अस्वीकार गर्छन् ।
- यौन सम्पर्कका बेला पुरुषलाई महिलाको तुलनामा बढी पसिना आउँछ । किनभने महिलाको शारीरिक संरचनामा शरीरबाट निस्कने पसिनालाई नियन्त्रित गर्ने क्षमता हुन्छ ।
- लगभग ३० प्रतिशत पुरुषमा शीघ्र पतनको समस्या हुन्छ ।
- लगभग ८३ प्रतिशत महिला आफ्ना पुरुष साथीको लिंगको आकारबाट पूर्णतया सन्तुष्ट हुन्छन् ।
- लगभग ७५ प्रतिशत पुरुषले यौन सम्पर्क गर्दा ३ मिनेटभित्रै वीर्य स्खलन गर्छन् ।
- संसारभर प्रत्येक दिन लगभग १ अर्ब मानिस यौन सम्पर्कमा संलग्न हुन्छन् ।

Page 30
अब हाम्रो पालो

तपाईंलाई सबैभन्दा झोक चल्ने कुरा के हो ?

- साप्ताहिक संवाददाता

बोर्डिङ पढाउने शिक्षकको जिन्दगी कहिल्यै उँभो लाग्दैन भनेर खिसिट्युरे गर्नेहरूले आफ्ना सन्तानलाई बोडिर्ङमा पढाउन ल्याएको देखेर झोक मात्र होइन दिमाग नै सन्किएर आउँछ ।
दीपक तामाङ

आफूले नमस्कार गरेपछि देखेर पनि नदेखेझैं गर्ने मानिसहरूसँग सार्‍है झोक चल्छ ।
रमेश क्षेत्री

नेपालको परिवेशमा सधैं राम्रो मान्छेलाई फसाउन खोजिन्छ । यस्ता कुरा देख्दा मलाई साह्रै झोंक उठ्छ ।
छवि मगर

आफैंले फोन गरेर कहाँ पर्‍यो भनी सोध्दा क्या झोक चलेर आउँछ भन्या ?
रमेशराज अधिकारी

वास्तविक पीडितले न्याय नपाउँदा अनि सत्यले हार्दा झोक चल्छ भने दुःख पनि लाग्छ ।
एमबी महेश

मलाई झोक चल्नुपर्ने कुरा धेरै भएर पनि किन झोक नचलेको होला भनेर झोक चल्छ ।
इन्दिरा

नेपालका तीन थरी सरकारले वर्षैपिच्छे कर बढाएको देखेर झोक चल्छ ।
पल जोशी

देश बनाउँछु भन्ने नेता अनि राष्ट्र सेवक भन्नेहरूले विदेशीहरूको इसारामा काम गरेको देख्दा झोक चल्छ ।
योजन तामाङ

वास्तविकता नबुझी हल्लाको पछि लागेर जिद्दी गर्ने मानिसहरूसँग झनक्क रिस उठेर आउँछ ।
नरिश्वर गौतम

देशमा एउटा न एउटा काण्ड रचेर सीधासाधा जनतालाई भुलाउने ठूलाबडाहरूले देश विकासलाई गति दिनुको सट्टा उल्टो गतिमा दौडाएको देख्दा झोक चल्छ ।
रुपेश मोक्तान

जहिले पनि नेताहरूले हामी जनताका लागि काम गरिरा’छौं भन्ने तर केही नगरी देशमा झन्झन् गरिबी बढेको देख्दा झोक चल्छ ।
जीवन अधिकारी

नेपालमा अहिले मौलाएको पीत पत्रकारिता देखेर झोक चल्छ ।
देविका रोदुङ

नेताहरूको भाषण सुन्दा झोक चल्छ, त्यसमा प्रधानमन्त्रीदेखि वडाका कार्यकर्ता सबै पर्छन्, यिनले गफ दिने भन्दा अर्को काम गर्दैनन् ।
रामचन्द्र गुईदेल

फेसबुकमा मानिसहरू वकिल र न्यायाधीश बनेको देख्दा झोक चल्छ ।
सुरेश अर्याल

अगाडि भगवान हो तपाईं मेरा लागि भन्ने, तर पछाडि अरूसँग कुरा काट्नेहरूसँग ।
मुकेश वस्ती

नेताहरूको पारा देख्दा साह्रै झोक चल्छ । जहिले पनि हावा कुरा गर्ने तर काम केही नगर्ने ।
मनिष श्रेष्ठ

मलाई त केपी काकाको गफ सुनेर सबैभन्दा बढी झोक चल्छ ।
गौतम गणेश

जब भ्रष्टाचारी, कालो बजारिया, बिचौलिया अनि दलालहरू शिर ठाडो पारेर हिँड्छन्, त्यसपछि यमराजले किन यस्तालाई अकालमै लगेनन् भनेर झनक्क पारो तात्छ ।
जेबी गाउँले

मलाई जब भोक लाग्छ, तब झोक चलिहाल्छ ।
सुजन हिमरुङ

नेपालका हावादारी न्युज पोर्टलहरूको समाचार र त्यसमा कमेन्ट गर्नेहरूसँग झोक चल्छ ।
राजकुमार श्रेष्ठ

पब्जी खेल्ने क्रममा इन्टरनेट नचल्दा नेटको तारै चुँडालेर फालूँजस्तो लाग्छ ।
प्रकाश नेम्वाङ

नेताहरूको ताल देख्दा नै झोक चल्छ ।
ईश्वरी खड्का

मलाई सुतेका बेला कसैले फोन गर्‍यो भने झोक चलिहाल्छ ।
जेनिस विष्ट

नेपालका नेताको बुद्धि तथा युट्युबरेहरूको ताल देख्दा साह्रै झोक चलेर आउँछ ।
घनश्याम पौडेल

साथीहरू ५ मिनेटमा आउँछु भनेर ५० मिनेटसम्म पनि नआउँदा झोक चलेर आउँछ ।
सन्तोष लिम्बू

अनलाइन न्युज पोर्टलहरूले एउटै कुरालाई दोहोर्‍याई–तेहेर्‍याई प्रकाशन गरेको देख्दा झोक चल्ने मात्र होइन, तिनीहरूसँग झगडा नै गर्न मन लाग्छ ।
तुलसा बन्जारा

कहिलेकाहीँ आफूले गरेको कामले गर्दा आफैंसँग झोक चल्छ, के गर्नु खै ?
रोशन राना

बाहिर अरूलाई सुनाउनचाहिँ इमानदारीपूर्वक काम गरेको छु भन्ने अनि भित्र–भित्रचाहिँ आफूअनुकूलको व्यक्ति नियुक्ति गर्दा झोक चल्छ ।
सन्तोष सुनार

आफूले किनेर पढ्न ठिक्क पारेको पुस्तक अरूले नै उडाइदियो भने झोक चल्छ ।
भुवनराज उप्रेती

जहिले पनि आफूले मात्र फोन गर्नुपर्ने तर साथीभाइले कहिल्यै सम्झेर फोन नगर्दा झोक चल्ने मात्र होइन, मन नै मरेर आउँछ भन्या !
विपिन पण्डित

मलाई अर्काकी बूढी जिस्क्याउनेहरूसँग झोक चलिहाल्छ ।
सतेन्द्र हमाल

सडकको छेउमा व्यवसाय गरेर जीवन चलाउने सर्वसाधारण मानिसको असह्य पीडा देखेर पनि नदेखेझैं गरी साइरन बजाउँदै हिँड्ने नेताजीहरू देख्दा झोक चलेर आउँछ ।
अनिल चौलागाईं

मेरो व्यक्तित्व, स्वभाव अनि विचारमा कहीँकतैबाट आघात वा चुनौती आयो भने अथवा कामअनुसारको व्यवहार भएन भने झोक चल्छ ।
डण्ड भण्डारी

राशिफल

यो साताको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मेष
आफ्नो व्यक्तित्व तथा सुन्दरताप्रति आकर्षित हुनेहरू बढ्नेछन् । मांगलिक कार्यमा बाँधिने प्रस्तावसमेत प्राप्त होला । अभिभावकहरूको रुचि तथा स्वविवेकमा निर्णय गर्नुहोला । कम बोल्नुमै फाइदा छ । साताको अन्त्यमा भ्रमणमा रमाइनेछ ।

वृष
आकस्मिक यात्रा हुनसक्छ । योजना सफल बनाउन कठोर मेहनत गर्नुपर्नेछ । सभा–सम्मेलन, तालिमजस्ता कार्यक्रममा सहभागी हुने मौका पाइनेछ । कार्य क्षेत्र वृद्धि भै पदोन्नतिको अवसर जुट्नेछ । बिहीबार र शुक्रबार मन मिल्ने साथीको मांगलिक कार्यमा सहभागी भइनेछ ।

मिथुन
चियोचर्चो गर्नेहरूले व्यवसायमा धक्का पुर्‍याउने प्रयत्न गर्नेछन् । संयमतापूर्वक कार्य सम्पन्न गर्नुहोला । आँखासम्बन्धी समस्याले सताउनाका साथै धन खर्च हुने सम्भावना छ । भोजभतेरमा सहभागी हुँदा आफ्नो बहुमूल्य सरसामानप्रति निगरानी राख्नुहोला । सवारी चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।


कर्कट
प्रशंसकहरूले सहयोगी भावना व्यक्त गर्नेछन् । बुधबारपछि नयाँ व्यवसायको श्रीगणेश हुने सम्भावना छ । लामो समयदेखि रोकिएका कामको गाँठो फुक्नेछ । धातुको कारोबार गर्न सके राम्रै आय हात लाग्नेछ । मनोरञ्जनका क्रममा केही खर्च गर्नुपर्ने हुनसक्छ ।

 

सिंह
सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतिस्पर्धाका क्रममा नतिजा आफ्नो पक्षमा होला । आम्दानीको दिगो स्रोत फेला पार्न केही समय कुर्नुपर्नेछ । सुनौलो रंगलाई प्राथमिकता दिँदा कुनै पनि कार्य गर्न सहज हुनेछ ।


कन्या
अरूप्रति छिटो विश्वास गर्नाले आफैंलाई नोक्सान हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्नुहोला । सुखद प्रेम–सम्बन्धलाई बाहिरी कुराले खलबल्याउन सक्छ । प्रेमी–प्रेमिका चिढिन सक्छन् । सही मार्ग पहिल्याउनुपर्ने आवश्यकता छ । साथीभाइहरूले तपाईंको योजनालार्ई सकारात्मक रूपमा लिनेछन् ।


तुला
होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । रोजगारीको अवसर पनि प्राप्त होला । साताको अन्त्यमा भौतिक सुविधाको साधन खरिद गर्ने अवसर जुट्नेछ । सरोकार नभएका विषयमा चासो राख्दा विवाद सिर्जना हुनसक्छ ।

वृश्चिक
प्रातःकालमा भगवान्को स्मरण तथा योग–ध्यान गर्न सके मानसिक तनाव कम हुनेछ भने शरीरिक आलस्यता पनि हटेर जानेछ । साथीहरूलाई आर्थिक विषयमा वचन दिँदा संयम अपनाउनुहोला । पहेंलो रंगको पहिरनले ठूलो उपलब्धि हात लगाउने सम्भावना छ ।


धनु
कार्य सम्पादनको सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । घुमाउरो पाराले प्रेम प्रस्ताव प्राप्त हुनसक्छ, निर्णयमा ढिलाइ नगर्नुहोला । वैदेशिक यात्राको सिलसिलामा विशिष्ट व्यक्तित्वहरूसँगको भेटले व्यवसायिक प्रेरणा दिनेछ । साताको अन्त्यमा परोपकारी कार्यमा संलग्न हुँदा आत्मसन्तुष्टि मिल्नेछ ।


मकर
कूटनीतिक क्षमताको प्रदर्शन गर्नु उचित हुन्छ । विदेशमा रहेका शुभ चिन्तकहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । मन पराउनेहरूले साझेदारीमा लगानी गर्ने उत्सुकता दर्साउँदा निर्णय गर्न ढिला नगर्नुहोला । सप्ताहन्तमा सुखद समाचार प्राप्त हुनेछ ।


कुम्भ
सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ । अग्रजहरूको संगतले ज्ञानको दायरा बढाउने अवसर प्राप्त होला । कुनै पनि प्रतिस्पर्धामा राम्रो परिणाम हात पार्न सकिनेछ । प्रेम–प्रेमिकाको सपना साकार पार्न आफूलाई वास्तविकताको धरातलमा उभ्याउनु श्रेयष्कर हुन्छ ।


मीन
अर्काको आशामा बस्दा पछि परिनेछ । दृढताका साथ गरिएका सबै खाले कार्यमा सफलता हात लाग्नेछ । अरूलाई बढी विश्वास गर्दा अभिभावकहरू चिढिनेछन् । जिद्दी गर्ने स्वभावले समस्या निम्त्याउन सक्छ । विशेष कार्य योजनाको जग बसाउन प्रेमी–प्रेमिकाले साथ दिनेछन् ।

Page 31
खेलकुद

कमजोर व्यवस्थापन

नेपालमा कुनै ठूलो खेल महोत्सव हुनु पर्छ, त्यसमा व्यवस्थापन सबैभन्दा ठूलो समस्याका रूपमा देखापर्छ । यस्तोमा एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल मात्र कहाँ अपवाद हुन सक्छ ? नेपाली भलिबल इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा नेपाल भलिबल संघका धेरै कमजोरी देखिए । आयोजकका रूपमा संघले व्यवस्थापन पक्षमा कुनै प्रकारको तयारी नै नगरेको देखियो । यस्तोमा प्रश्न उठ्ने गरेको छ, प्रतियोगिता अयोजना गरेर मात्र हुन्छ र ? प्रतियोगिताको कमजोर व्यवस्थापनकै कारण अर्को सुझाव पनि आएको छ— अब नेपाली खेलकुदले प्रतियोगिता आयोजनाको व्यवस्थापन सुदृढ तुल्याउन विशेषज्ञ जनशक्तिको सहयोग लिन ढिलाई गर्नु हुँदैन ।

 

खेलकुद

निमेशको अनौठो सफलता

- साप्ताहिक संवाददाता

प्रहरी र सेनाको आ–आफ्नो घरेलु मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुन्छ । यस्तै एउटा प्रतियोगिता विश्व पुलिस फायर गेम्सको नाममा चीनमा भएको थियो । त्यसमा नेपाली धावक निमेश गुरुङले एथलेटिक्सतर्फ तीन स्वर्ण जिते । उनले हाफ म्याराथन, १० किलोमिटर क्रसकन्ट्री तथा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन् । रमाइलो के भने गुरुङले प्रतियोगितामा नेपालको प्रतिनिधित्व भने गरेका थिएनन्, उनले सिंगापुर प्रहरीका लागि खेलेका थिए । निमेश एक दशकदेखि सिंगापुर प्रहरीमा कार्यरत छन् । उनी सिंगापुर प्रहरी संगठनका स्टार खेलाडी हुन् र उनले त्यहाँको घरेलु खेलकुदमा लगातार पदक जितिरहेका छन् । निमेशको नागरिकता–पासपोर्ट भने नेपाली नै छ ।

खेलकुद

सोमपालको टिम च्याम्पियन

- साप्ताहिक संवाददाता

भलै नेपाली खेलाडी सोमपाल कामीले कुनै गतिलो योगदान दिने मौका पाएनन्, तर उनको टिम विन्नीपेग हक्सले क्यानाडामा भएको ग्लोबल ट्वान्टी–२० लिगको उपाधि जितेको छ । फाइनलमा हक्सले भ्यानकुभर नाइट्सलाई हराएको थियो । सोमपालले फाइनल पनि खेल्न पाएनन्, तर टिमको सफलतामा उनी उत्तिकै खुसी देखिए । पहिलो पल्ट विदेशी लिगमा खेल्ने मौका पाएका सोमपालले प्रतियोगितामा एकपल्ट मात्र खेल्ने अवसर पाए, तर त्यसमा उनको प्रदर्शन राम्रो रहेन । प्रतियोगितामा नेपालका सन्दीप लामिछाने टोरन्टो नेसनल्ससँग आबद्ध थिए । प्रतियोगितामा यो टिमको प्रदर्शन भने खासै राम्रो रहेन, बरु खेलाडीहरूले तलब नदिएको आरोप लगाएपछि यो टिम गलत कारणले समाचारमा आयो ।

खेलकुद

दर्शकदीर्घामा मानबहादुर

- साप्ताहिक संवाददाता

नेपाली भलिबलका स्टार खेलाडी हुन्— मानबहादुर श्रेष्ठ, तर उनी अहिले नेपाली टिममा छैनन् । त्यसैले उनले एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाएनन । उनले आठौं राष्ट्रिय खेलकुद खेलेका थिएनन्, नेपाली टिममा छनौटको आधार त्यही थियो । जे होस्, उनी प्रतियोगिताका क्रममा दर्शनदीर्घामा भने देखिए । लगनखेलको आर्मी कभर्ड हलमा भएको नेपाल र किर्गिस्तानबीचको खेलमा उनी आम दर्शकमाझ देखिए र सबै दर्शक जस्तै उत्तिकै जोसमा पनि । श्रेष्ठ सबैको नजरमा समेत परे । खेलमा नेपाल पराजित भएपछि स्वभाविक रूपमा उनी पनि निराश नै देखिए ।

खेलकुद

अब त हुन्छ कि ?

- साप्ताहिक संवाददाता

विश्व महिला क्रिकेटमा विरलै मात्र फ्रेन्चाइज क्रिकेट हुन्छन् । त्यसमाथि महिला खेलाडीको लिलामी त भएकै छैन भने पनि हुन्छ । यस्तोमा नेपालमा वुमेन्स टी–२० लिग हुने घोषणा हुँदा नेपाली क्रिकेट समर्थक निकै खुसी देखिएका थिए, तर दुःखको कुरा के भने प्रतियोगिता निर्धारित समयमा हुन सकेन, मिति एकपछि अर्को गर्दै सर्दै गयो । पूर्व घोषणाअनुसार चैतमै यो प्रतियोगिता विराटनगरमा हुनुपर्ने थियो, तर हुन सकेन । अब यो प्रतियोगिता यही भदौको मध्यतिर काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका लागि खेलाडीको लिलामीसमेत भैसकेको छ । यो लिगमा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन तथा धनगढी वन्डर वुमेन सहभागी छन् ।

Page 32
जाँदा–जाँदै

एक्टिङ मेरो सोख हो

- साप्ताहिक संवाददाता
तेरिया फौजामगर

सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने ॅडान्स इन्डिया डान्स’ लिटिल मास्टर्सको तेस्रो संस्करण तथा सन् २०१७ मा ॅझलक दिखला जा’ को ९ औं संस्करणको उपाधि चुमेर नेपाली चेली तेरिया फौजामगरले नयाँ उचाइ चुमिन् । रुपन्देही, रुद्रपुरकी तेरियाले बुटवलको बागेश्वरी स·ीतालयमा नृत्य सिकेकी थिइन् । तेरिया अहिले अध्ययन र नृत्य सिक्ने क्रममा परिवारसहित मुम्बईमै छिन् । डान्सको माध्यमबाट नेपालाई चिनाउन सफल तेरिया फौजामगरसँग स्वस्तिक श्रेष्ठको कुराकानी :



धेरै प्रशंसकले अहिले तपाईंको नृत्य हेर्न नपाएको गुनासो गरिरहेका छन् नि ?
पहिले रियालिटी शोमा हरेक हप्ता मेरो नृत्य हेर्न पाइन्थ्यो । अहिले म रियालिटी शोमा सहभागी छैन, तर लाइभ शोहरूमा पर्फम गरिरहेको हुन्छु, त्यही भएर होला ।

तपाईं टिकटकमा सीमित भएको त होइन ?
टिकटक एउटा मनोरन्जक एप्स हो । टिकटक म फुर्सदमा मात्र बनाउँछु ।

टिकटकमा कति फलोअर छन् ?
४ लाखभन्दा बढी ।

लामो भारत बसाइले तपाईंलाई के–कस्तो उपलब्धि दिएको छ ?
भारत बसेर धेरै फाइदा भएको छ । मैले धेरै नयाँ कुरा सिक्ने अवसर पाएकी छु । एक्सपेरियन्स भैरहेको छ । अध्ययनसँगै डान्स र अन्य धेरै कुरा सिक्न पाएकी छु ।

तेरिया मगर फाउन्डेसन स्थापना गर्नुभएको छ, यसको उद्देश्य के हो ?
मजस्ता स–साना बालबालिकाहरूलाई जसले आफ्नो ट्यालेन्ट हुँदाहुँदै पनि शो गर्न पाउनुभएको छैन । त्यो पनि डान्सको फिल्डमा मात्र नभै हरेक फिल्डमा । स्पोर्ट्समा, पढाइमा आफ्नो ट्यालेन्स देखाउन पाउनुभएको छैन । आफ्नो फेमिलीको सपोर्ट नभएका कारणले वा आफनो फाइनान्ससियल समस्याले गर्दा कठिनाइमा परेका बालबालिकाहरूलाई यो फाउन्डेसनमार्फत सहयोग गर्ने लक्ष्य छ । म जति बढ्दै छु, त्यति नै समाजसेवाप्रति इन्ट्रेस लागिरहेको छ । मलाई खुसी पनि लाग्छ, मेरो इच्छा पनि छ, मजस्तै बालबालिकाहरूलाई सहयोग र सपोर्ट गर्न पाऊँ भन्ने ।

अध्ययन र नृत्यबाहेक अभिनयमा पनि तपाईंको रुचि हो ?
एक्टिङ मलाई अहिले होइन, पहिलेदेखि नै मन पर्थ्यो । अहिलेचाहिँ थुप्रै नेपाली दिदीबहिनी–दाजुभाइहरूले मलाई चिन्नुहुन्छ, उहाँहरूलाई मेरा बारेमा जिज्ञासा पनि हुन्छ । अहिले उहाँहरूलाई थाहा भएको छ, तर एक्टिङमा मलाई पहिलेदेखि नै रुचि थियो ।

चलचित्रबाट प्रस्ताव आइरहेको कुरा सुनिएको छ, कत्तिको सत्य हो ?
प्रस्ताव मात्र आएको हो तर काम गर्छु भनेर कसैलाई वचन दिएकी छैन । बजारमा हल्ला भने धेरै छ ।

चलचित्रमा आउने सम्भावना कत्तिको छ ?
सम्भावना छ, मलाई एक्टर बन्न मन छ । भविष्यमा चलचित्रमै काम गर्ने हो, तर अहिले तत्काल फिल्ममा जाने सोच बनाएकी छैन ।

कहिलेसम्ममा चलचित्रमा डेब्यु गर्नुहुन्छ ?
भविष्य त कसैले देखेको छैन । जतिबेला पनि हुन सक्छ, तर तत्कालका लागि मैले आफूलाई पढाइ र डान्समा फोकस गरेकी छु ।

बलिउड अभिनेता ऋतिक रोशनले पनि चलचित्रमा अभिनय गराउने कुरा गरेका थिए होइन ?
त्योचाहिँ झलक दिखजाला जाको मन्चमा अनस्क्रिन भन्नुभएको थियो, तर अफस्क्रिन मैले त्यस्तो प्रस्ताव पाएकी छैन ।

नेपाली चलचित्रमार्फत आउने कि हिन्दी चलचित्रमार्फत ?
त्यस्तो केही सोचेको छैन । काम भनेको काम हुन्छ । चाहे यहाँ होस्, चाहे त्यहाँ होस्, डेब्यु जहाँ पनि हुन सक्छ । म दुवै ठाउँमा काम गर्नेछु र मलाई यहाँ काम गर्दा पनि एकदमै खुसी लाग्नेछ । आफ्नै ठाउँ, आफ्नै देशमा आफ्नै मान्छेहरूसँग काम गर्न पाउनु पनि म ेरा लागि ठूलो खुसीको कुरा हो । डेब्युको कुरा अहिलेसम्म सोचेको छैन, तर कामचाहिँ दुवै स्थानमा गर्छु ।

फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
टाइम मिल्दा सिंगिङ गर्छु । गीत गाउन मन रुचाउँछु । युट्युबमा भिडियो तथा फिल्महरू हेर्छु ।

फिटनेसमा कत्तिको ध्यान दिनुहुन्छ ?
शरीरलाई फिट राख्नुपर्छ भन्ने भावना छ । मेरो पढाइका कारण बीचमा केही समय फिटनेसबाट टाढा भएकी थिएँ, जसले गर्दा मलाई केही गार्‍हो भैरहेको थियो, तर अहिले फेरी फिटनेसमा ध्यान दिन थालेकी छु । वर्कआउटले नै हाम्रो बडिलाई फिट राख्छ र त्यसमा आफूले के खाइन्छ अर्थात डाइट पनि महत्वपूर्ण हुन्छ ।

खानपिनको कत्तिको सौखिन हुनुहुन्छ ?
त्यस्तो सौखिन छैन । ममीले जे पकाएर दिनुहुन्छ त्यही मीठो मानेर खान्छु ।

पहिरनमा के रुचाउनुहुन्छ ?
वन पिस बढी लगाउँछु, कम्फर्टेबल पनि लाग्छ ।

रिस उठ्यो भने ?
यो मेरो नराम्रो बानी हो । म अलिकति छिटो रिसाउँछु तर जति छिटो रिसाउँछु त्यही नै छिटो रिकभर भैसक्छु ।

तपाईंको राम्रो बानी ?
राम्रो बानी आफैं नभनौं । आफ्नो प्रशंसा आफ्नै मुखबाट कसरी गर्ने ?

अनि सुधार्नुपर्ने बानी ?
सुधार्नुपर्ने बानी धेरै छन । ममीले मलाई धेरै कुरा सम्झाइरहनुभएको हुन्छ ।

जाँदा–जाँदै

कासाको डेब्यु–२०१९

- साप्ताहिक संवाददाता

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आउँदो भदौ १३ गते पाटन दरबार संग्रहालयमा डेब्यु–२०१९ शीर्षकको अन्तर्राष्ट्रिय फेसन शो हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त फेसन शोको आयोजना गर्न लागिएको कासा बुटिककी सञ्चालिका एवं फेसन डिजाइनर रमिला नेमकुलले जानकारी गराएकी छिन् । उक्त फेसन कार्यक्रममा नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका डिजाइनहरू पनि प्रस्तुत गरिने बताइएको छ । उक्त कार्यक्रममा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, श्रृङ्खला खतिवडा तथा निकिता चान्डक, ब्युटी क्वीनहरू मनिता देवकोटा, प्रिया सिग्देल, रोनाली अमात्य, महिमा सिंह, सन्दीपा लिम्बू, अन्तर्राष्ट्रिय नेपाली मोडल सविता कार्की, अन्जली लामा देखि अन्तर्राष्ट्रिय मोडलहरू रेवती क्षेत्री, एनी कुकोहोभी, अल्फ्रिडा आलिफिया, मेल्बा इमान्युला तथा निशी भारद्वाज आदि रनवेमा देखा पर्नेछन् भने यो फेसन शोको कोरियोग्राफी सुपर मोडल आस्था पोखरेलले गर्नेछिन् ।

जाँदा–जाँदै

मिस नेपाल नर्थ अमेरिका–२०१९

- विजय थापा

न्युयोर्कमा सम्पन्न दोस्रो मिस नेपाल नर्थ अमेरिका–२०१९ मा न्युयोर्ककी श्रेया गजुरेल विजयी घोषित भएकी छिन् । प्रथम बिजेता भ्यानकुभर क्यानाडाकी आस्था पाण्डे तथा द्वितीय विजेता म्यासाचुसेट्सकी कृती केसी भएका थिए ।यसका साथै मिस ट्यालेन्ट (प्रतिभावान्) मा रेबिका श्रेष्ठ, मिस कम्युनिटी आउटरिच (सामुदायिक पहुँच) मा गरिमा पौडेल, मिस पपुलर (जनताको मतद्वारा लोकप्रिय) मा राजश्री आचार्य, फोटोजेनिक (चित्रण योग्य) मा आस्था थापामगर, मिस स्माइल (मुस्कान) मा सविना पौडेल, मिस वेस्ट ड्रेस (उत्कृष्ट पोसाक) मा ओशिन रायमाझी, मिस पर्सनालिटी (व्यक्तित्व) मा मनिषा रोका, मिस डिसिप्लेन (अनुशासन) मा रिस्ता साह, मिस क्याटवाक (बिरालो चाल) मा विष्णु मिश्रा, मिस राइजिङ स्टार (उदाउँदो तारा) मा एंजिला अधिकारी, मिस स्किन (छाला) मा आस्था थापा मगर, मिस बेस्ट हेयर (उत्कृष्ट केश) मा रिस्ता शाह विजयी रहे । २०१० की नेपाल सुन्दरी (मिस नेपाल–२०१०) सदिक्षा श्रेष्ठले कोरियोग्राफर तथा प्रशिक्षकको भूमिका निर्वाह गरेको यो प्रतियोगितामा उनले आफूले सबै प्रतियोगी एकसे एक पाएको बताएकी थिइन ।