You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 2
जुम इन

रोजिताको भिन्न रुप

- साप्ताहिक संवाददाता

तस्बिरमा देखिएको तीन फरक–फरक चित्र एउटै व्यक्तिको हो । यिनी हुन्— रोजिता बुद्धाचार्य । उनको पेसा के हो भन्ने कुरामा उनी स्वयं यकिन हुन सकेकी छैनन् । यद्यपि जीवनका विभिन्न मोडमा उनले जुन–जुन काम गरिन्, सबैमा दत्तचित्त भएर लागिन् र सोहीअनुसार हात हालेका सबै क्षेत्रमा सफलता पनि हात पार्दै गइन् ।
काठमाडौंको परम्परागत नेवार परिवारमा जन्मिएकी रोजितालाई शैक्षिक योग्यताले खगोलिय वैज्ञानिक बनायो । भौतिक शास्त्र (फिजिक्स) मा अमृत साइन्स क्याम्पसवाट मास्टर्स गरेकी रोजिताले आफ्नो थेसिस भने एस्ट्रोफिजिक्स विषयमा गरिन् । नगरकोटस्थित नेसनल अब्जरभेटरीबाट बिटल जुज भन्ने ताराको अनुसन्धान गरेर तयार पारिएको उनको थेसिसले सहकर्मीहरूबीच सर्वाधिक नम्बर पनि ल्यायो । उनको अनुसन्धान बूढो तारा मानिने बिटल जुज कसरी मर्दै गएको छ भन्ने विषयमा केन्द्रित थियो । रोजिता भन्छिन्— तिहारपछि आकाश सफा भएका बेला यो तारा देखिन्छ । काठमाडौंमा भएको एक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा रोजिताले प्रस्तुत गरेको उक्त कार्यपत्रले युरोप, अमेरिका तथा अस्ट्रेलियाका प्रोफेसरहरूलाई प्रभावित तुल्यायो । त्यहाँ विश्वका ५ सय व्यक्तिले आवेदन दिएको छोटो समयको प्रशिक्षणका लागि १४ जना छानिए, जसमा रोजिता नेपालबाट छानिने पहिलो अनुसन्धानकर्ता भइन् । अमेरिकाको बाल्टिमोरस्थित स्पेस टेलिस्कोप साईन्स इस्टिच्युटले नासाका लागि काम गर्छ । उक्त इस्टिच्युटले हब्बल टेलिस्कोपबाट प्राप्त भएका ब्रम्हाण्डका विभिन्न डाटा ८ सयभन्दा बढी वैज्ञानिकलाई उपलब्ध गराउँछ । रोजिताले त्यसमा रहेर केही समय वैज्ञानिकका रूपमा काम गरिन् ।
यो त भयो रोजिताको वैज्ञानिक जीवनको पाटो, अब चर्चा गरौं उनको अभिनयको पाटोको । नेपाल टेलिभिजनमा विज्ञानसम्बन्धी कार्यक्रम चलाउने रोजिताले थिएटर भिजेलले संचालन गरेको पहिलो अभिनय प्रशिक्षण लिने मौका पाइन् । त्यसपछि उनले अभिनय यात्रालाई पनि जारी राखिन् । उनले चारुमती नाटकमा पहिलो पटक अभिनय गरिन् । त्यसपछि एक पछि अर्को गर्दै सुइना कर्णालीका, बुद्ध वाणी, मलिनी आदि विदेशी लेखकका नाटकमा अभिनय गरिन् । कुनै पनि चरित्रमा जिवन्त अभिनय गर्न सक्ने उनको क्षमता देखेर बायोपिकका रूपमा निर्माण भएको साहित्यकार झमककुमारी घिमिरेको जिवन काँडाकी फूलमा रोजिताले झमक घिमिरेको युवा अवस्थाको भूमिका निर्वाह गरेकी छिन् ।
वैज्ञानिक तथा अभिनेत्रीबाहेक उनी साहसी पर्वतारोही पनि हुन् । पहिलो महिला समावेशी टोलीमा प्रख्यात आरोही फूर्वा तेन्जिङ शेर्पालाई सरदार बनाउदैं रोजिता लगायत महिला पत्रकारको टोलीले सन् २०१८ मा विश्वको सर्वोच्च शिखरमा पाइला हाल्यो । रोजिता हालै चीन–पाकिस्तानको सिमामा अवस्थित मुज्ताघ आटाँ (७ हजार ५ सय ९ मिटर अग्लो) हिमाल चढ्ने पहिलो नेपाली समेत भएकी छिन् । त्यसबाहेक उनले रमडुङ (५ हजार ९ सय २५ मिटर), यालुङ री (५ हजार ६ सय ३० मिटर) को पनि सफल आरोहण गरिसकेकी छिन् ।

जुम इन

नयाँ करोडपति

- साप्ताहिक संवाददाता

कान्तिपुरको करोडपति सिजन–३ अन्तर्गत एक करोड रुपैयाँ जित्न सफल २२ वर्षीय अनिल चौधरीलाई गत बुधबार थापाथली, काठमाडौंस्थित पब्लिकेसन्सको मुख्यालयमा पब्लिकेसन्सका अध्यक्ष तथा महाप्रवन्धक कैलाश सिरोहियाले पुरस्कार रकम स्वरूप चेक हस्तान्तरण गरे । नवलपरासीस्थित सुनवल नगरपालिका–१२ को भुमही चोकमा चौधरी फ्रेस हाउस एन्ड किराना पसल चलाउँदै आएका अनिलले उक्त रकम व्यापार–व्यवसायमै लगानी गर्ने कुरा बताएका छ्न ।

जुम इन

दाजुभाइ तथा दिदीबहिनी (भाइ) टीका

- साप्ताहिक संवाददाता

तिहारको भाइटीकामा हुनेले आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग त नहुनेले दाजुभाइ वा दिदीबहिनी बनाएर भए पनि भाइटीका लगाउने परम्परा छ । बदलिँदो समयसँगै फराकिलो सोचका कारण तिहारमा विभिन्न आयाम देखा पर्न थालेको छ । दाजुभाइ तथा दिदीबहिनीबीच भाइटीका लगाउने कार्यले यो वर्ष पनि निरन्तरता पायो । यद्यपि तनहुँका मदन तिमल्सिना र सुमन तिमल्सिनाले यो वर्षको भाइटीका एकआपसमा लगाएर मनाए । यी तिमल्सिना दाजुभाइले विगत चार वर्षदेखि भाइटीका लगाउँदै आएका छन् । दिदीबहिनी नभएर हरेक वर्ष तिहारमा मन खिन्न हुने तथा संस्कृतिको जगेर्ना हुनुका साथसाथै दाजुभाइ बीच घनिष्ठता बढ्ने हुनाले आफूहरूले यस्तो कार्यको थालनी गरेको मदन बताउँछन् । त्यस्तै झापाकी प्रकृति न्यौपाने तथा प्रनिका न्यौपानेले पनि यो तिहारमा दिदीबहिनीबीच टीका लगाएर तिहार मनाएका छन् । प्रकृति र प्रनिकाले यसरी टीका लगाएको तीन वर्ष भैसकेको छ । निधार खाली राखेर मन दुखी बनाउनुभन्दा आफूसँग भएको कुरामै खुसी हुन यो संस्कृतिको सुरुवात गरेको प्रकृति बताउँछिन् । परम्परा तोडेर दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको दिदीबहिनी तथा दाजुभाइबीच टीका लगाउनु उदाहरणीय नयाँ सुरुवात भएको न्यौपाने दिदीबहिनीको दाबी छ ।
 

जुम इन

बाहुबली सोनाम

- साप्ताहिक संवाददाता

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–४ का सोनाम तामाङ केही दिनयता सामाजिक सञ्जालमा छाइरहेका छन् । गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परेका यात्रुहरूको उद्धार गरेसँगै तामाङले अहिले देशभरबाट प्रशंसा पाइरहेका छन् । सुनकोसी नदीमा भएको दुर्घटनामा उनी घटनाको दुई मिनेटमै पुगि एक्लैले १५/१६ जनालाई बचाउन सफल भएका थिए । सोनामले यसभन्दा अघि पनि र्‍याफ्टिङ गर्ने यात्रुहरूको उद्धार गरेका थिए । पेसाले बोटिङ गाइड तामाङ विगत ७ वर्षदेखि उक्त काममा आबद्ध छन् । दुई वर्षदेखि स्वतन्त्र रूपमा (फ्रिलान्सर) गाइडको काम गरिरहेका तामाङ हाल सुकुटेमा बसोबास गर्छन् ।

जुम इन

मिस एसिया एवार्ड्समा सफलता

- साप्ताहिक संवाददाता

कात्तिक १६ गते शनिबार भियतनामको हो चि मिन्ह सहरमा सञ्चालित मिस एसिया एवाडर््स–२०१९ मा नेपालका तर्फबाट सहभागी रबिष्का श्रेष्ठ उत्कृष्ट ११ सम्मको यात्रा तय गर्न सफल भएकी छिन् । १८ वर्षिया रुबिष्काले ट्रूजिमी कोरिया नामक स्पोन्सर एवार्डसमेत प्राप्त गरेकी छिन् । मिस एसिया एवार्ड्स–२०१९ को उपाधि भने फिलिपिनो सुन्दरी कायसा चुवाले जितेकी थिइन् ।

जुम इन

कार्कीलाई स्वर्ण पदक

- साप्ताहिक संवाददाता

अमेरिकामा बस्दै आएका नेपाली मूलका पावर लिफ्टर रूप कार्कीले मास्टर टु २ सय २० पाउण्ड तौल समूहमा आयरल्यान्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ आइपिएल प्रतियोगितामा स्वर्णपदक जितेका छन् । उनले एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ आइपिएल प्रतियोगितामा मास्टर वान प्राप्त गरिसकेका थिए । उक्त वर्ल्ड पावरलिफ्टिङ आइपिएल प्रतियोगितामा विभिन्न राष्ट्रका विभिन्न तौल समूहका खेलाडीहरू सहभागी थिए । कार्की ड्रग टेस्टेड (कृत्रिम रूपमा शारीरिक बल वृद्धि गर्न ओखती प्रयोग नगर्ने विधि) खेलाडी हुन् । अमेरिकामा नेपालीहरूको इतिहासमा कार्की पावरलिफ्टिङमा प्रवेश गरि अन्तरराष्ट्रिय स्तरसम्म पुग्ने पहिलो नेपाली मूलका खेलाडी हुन् । भैरहवा, नेपाल स्थायी घर भएका कार्की अमेरिका आए देखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् ।

 

Page 3
समय सन्दर्भ

दृश्य प्रदूषण

- अधिकारी रवीन्द्र

केही दिनअघि एउटा ट्रेनिङ दिन काठमाडौं जानुपर्ने थियो । समय अभावका कारण काठमाडौंसम्मको १ घण्टाको यात्रा अवधिमै तयारी गर्ने विचारले म बसमा चढेँ । सुरुवात कसरी गर्ने, मुख्य विषय कसरी प्रस्तुत गर्ने अनि निचोड कसरी दिने भनेर खाका बनाउँदै थिएँ, जनागाल पुगेपछि सडकछेउमा एउटा ठूलो होर्डिङ बोर्डमा एउटा नयाँ गाडीको विज्ञापन देखेँ । भ्याउन्जेलसम्म मुन्टै बटारेर त्यो गाडीको फिचर्ससमेत हेर्न भ्याएँ । जगातिको ग्यास स्टेसन नपुग्दासम्म म त्यही गाडीको विषयलाई लिएर नाना कुरा सोचिरहेको रहेछु, पछि मात्र झल्याँस्स भएँ । त्यसपछि म पुनः आफ्नो विषयवस्तुतिर लागेँ । जडिबुटीसम्म आइपुग्दा पुनः चालै नपाई मेरो दिमाग कुनै एउटा सिमेन्टको विज्ञापनमा अड्किएको थियो । आफ्नो विषयवस्तु कुन्नि कता कतिबेला हरायो, पत्तै भएन । हिजोआज यताउता हिँड्दा धेरैलाई यस्तो हुन्छ र यो दृश्य प्रदूषणको मनोवैज्ञानिक असर हो ।
मानव सभ्यताको विकाससँगै प्रदूषणका नयाँ–नयाँ आयाम थपिँदै छन् । तिनैमध्येको एक दृश्य प्रदूषण एउटा बिल्कुलै नयाँ खालको विषय हो, धेरैलाई थाहा पनि नहुन सक्छ, यस्तो प्रदूषण पनि हुन्छ भन्ने कुरा । काठमाडौंमा वैशाख महिनादेखि ध्वनि प्रदूषण नियन्त्रण गर्न भनेर सवारी साधन चालकहरूले हर्न बजाउन नपाउने नियम लागू भएपछि मुख्य सडकका दायाँ–बायाँ खम्बाहरूमा अनि ठाउँ–ठाँउमा गेट नै बनाएर सूचना प्रवाह गरिएको पाइन्छ । यो अवसरलाई व्यापारीहरूले आफ्नो ब्रान्डको विज्ञापन गराउने सुनौलो अवसरका रूपमा लिएछन् । ध्वनि प्रदूषण नियन्त्रण गर्ने सन्देश जनतासम्म पुर्‍याउने बहानामा तुल, पर्चा वा फ्लेक्स बनाएर बाटो वा सहरको जताततै टाँस्दा त्यसका साथमा दृश्य प्रदूषण पनि भैरहेछ भन्ने कुरा जान्नु जरुरी छ । अझैसम्म पनि हामीकहाँ दृश्य प्रदूषणका बारेमा कुनै निकायको ध्यान गएको छैन । पृथ्वीको भूगोलमा अनावश्यक अप्राकृतिक चिज–वस्तुहरूको उपस्थिति नै दृश्य प्रदूषण हो जसले कुनै ठाउँको सौन्दर्यलाई अनपेक्षित रूपमा ह्रास पुर्‍याइरहेको हुन्छ । यस्तो प्रदूषणले दृष्टि क्षेत्रमा नकारात्मक परिवर्तन त ल्याउँछ नै, यसले स्रोत र साधनको अनावश्यक प्रयोग भएको कुरा पनि दर्साउँछ ।
सहरदेखि राजमार्ग, बजार तथा गल्लीहरू पनि विभिन्न बिल्बोर्ड, फ्लेक्स अनि फ्लायर्सहरूले भरिपूर्ण देखिन्छन् । पछाडिको भ्यु छोपिने गरी, थोरै देखिने आकाश ओगट्ने गरी राखिएका त्यस्ता दृश्यात्मक बिचलनले त्यो ठाउँमा आवतजावत गर्ने मानिसहरूको ध्यान विकेन्द्रित त हुन्छ, साथसाथै त्यो ठाउँको ओरिजिनालिटीसमेत नष्ट हुन्छ र सौन्दर्यमा खलल पुगिरहेको हुन्छ । यात्राका क्रममा त्यस्ता विज्ञापनजन्य बोर्डहरू (जुन प्रायः ध्यान तान्ने किसिमकै हुन्छन्) प्रति चालकहरूको ध्यान आकर्षित भयो भने ठूलो दुर्घटनासमेत निम्तिन सक्छ । मानव क्रियाकलापले ठाउँको एउटा अवस्थालाई परिवर्तन गरी अर्को कुरुप अवस्थामा पुर्‍याउँछ र कुनै दृश्य हेरेर आनन्द लिने मानिसले क्षमतामा ह्रास आउँछ । सुन्दर प्राकृतिक छटाले हामीलाई सकारात्मक ऊर्जा दिइरहेको हुन्छ भने दृश्य प्रदूषणले त्यसको उल्टो काम गर्छ । हेर्दा केही लाग्दैन, तर त्यसले दैनिक जीवनमा प्रभाव पारिरहेको हुन्छ । थोरै समयमा धेरै बोर्ड, गन्जागोलको सूचना र रङ्ग तथा चित्रहरू हेरेर आँखासमेत थाकिरहेको हुन्छ भने दिमाग पनि नजानिँदो किसिमले तनावग्रस्त हुन्छ । पर्यटकीय क्षेत्रहरूमा देखा पर्ने अव्यवस्थित दृश्यले पर्यटन व्यवसायमै आघात पार्न सक्ने त छँदैछ । यसले कुनै क्षेत्रको मौलिकता एवं विशेषता नै नष्ट गरिरहेको हुन्छ ।
दृश्य प्रदूषणका उदाहरण खम्बामा टाँसिएका ब्रोसरदेखि पार्टीले गर्ने भित्तेलेखनसम्म हुन् । सहरमा बिजुलीका खम्बा वरिपरि छरपस्टिएका विभिन्न तारदेखि सहरी सौन्दर्यमा आँच पुर्‍याउने गरी थुपारिएका फोहोरका डङ्गुर पनि हुन् । मोबाइल तथा इन्टरनेट प्रविधिको विकाससँगै विज्ञापनलाई डिजिटाइज गर्ने प्रचलन बढ्दै गए पनि नेपालजस्तो विकासोन्मुख मुलुकमा दृश्य प्रदूषणको समस्या तत्काल हट्नेवाला छैन । पहिलो कुरो, यसमा कानुनी अवधारणा विकास हुन समय लाग्छ, दोस्रो उपभोक्ता समुदाय पनि यो विषयमा सचेत छैन, साथै लगानीकर्ताहरूसमेत यसमा लगानी गर्न उत्सुक हुने कारणले विज्ञापनको समयावधि बढी र लागत कम, सबैको प्रविधिसँग पहुँच नहुनु, सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा डिस्प्ले हुने विज्ञापनले अझै पूर्ण विश्वसनीयता प्राप्त गरिनसक्नु नै हो ।
त्यस्ता बिल बोर्डहरू राख्नै हुँदैन भन्ने होइन, त्यसको साइज, दूरी र क्षेत्र हेरेर प्रावधान तयार गरिनुपर्छ । अमेरिका, नर्वे, साउथ कोरियाजस्ता थुप्रै देशमा दृश्य प्रदूषण कम गर्ने कानुन छन् । ट्राफिक संकेत, लोकेसन म्याप, दिशा निर्देश गर्ने चिन्हहरूलगायत अन्य आधारभूत सूचकबाहेक कमर्सियल प्रायोजनका बोर्डलाई वातावरणीय वर्णपटलाई कम असर पर्ने किसिमले विकास गर्दै लानुका साथै वातावरणीय दृश्यलाई प्रभाव पार्न सक्ने विज्ञापनलाई कानुनी दायरामा ल्याउनुपर्छ । आकार र क्षेत्र हेरेर वैज्ञानिकता दिँदै लाभान्वित पक्षले सरकारी करसमेत तिरे–नतिरेको अनुगमन गरिनुपर्छ । सडक छेउमा घर बनाउनेहरूका लागि पनि सामान्य आचारसंहिता आवश्यक छ, जस्तै पूरै सिसा वा टल्किने धातु प्रयोग गर्दा सवारी चालकहरूको आँखा टल्किएर अन्योल सिर्जना हुन सक्छ । दृश्य प्रदूषण न्यूनीकरण गर्न एक पक्ष मात्र लागिपरेर सम्भव छैन । सरकारी निकायहरूको सहयोग पनि चाहिन्छ र गैरसरकारी संस्थाहरूले पनि चासोपूर्वक यस विषयमा अभियान चलाउनुपर्छ । संचारमाध्यमहरूले पनि दृश्य प्रदूषणका सम्बन्धमा जनचेतना जगाउनुपर्छ ।

Page 4
कान्तिपुर गाथा

माथिल्लो तामाकोसी : आशा र अपेक्षा

- साप्ताहिक संवाददाता

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको मात्र होइन, नेपाली जनताको पनि ‘ड्रिम प्रोजेक्ट’ हो । चिलिमे जलविद्युत् आयोजनाको सफलतापछि यो आयोजना प्रारम्भ गरिएको थियो । यो नेपाली जनताको ड्रिम प्रोजेक्ट बन्नुको एउटै कारण थियो— लगानी । यो आयोजनाको निर्माण सम्पूर्ण नेपाली लगानीमा हुन लागेको थियो । यो साँच्चै राष्ट्रिय गौरवको विषय थियो । नेपालीहरूले आफ्नै पुँजीमा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनामा हात हालेका थिए । आयोजनाको निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत, नेपाल दूरसञ्चार संस्थानको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत सेयर लगानी छ । यस्तै, कर्मचारी संचय कोषका सञ्चयकर्ताको १७ दशमलव २८ प्रतिशत, दोलखावासी जनताको १० प्रतिशत, सर्वसाधारण जनताको १५ प्रतिशत, विद्युत् प्राधिकरणका कर्मचारीको ३ दशमलव २ प्रतिशत सेयर लगानी छ ।
आयोजनाले ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने भने पनि पहिलो चरणमा ४ सय २६ मेगावाट विद्युत् उत्पादन गर्नेछ । यसमा रोल्वालिङ खोलाको पानी मिसाएपछि यसको ३० मेगावाट क्षमता बढनेछ ।
यो आयोजनाको सबै काम सकिइसकेको छ । आयोजनाका प्रवक्ता डा. दिनेश न्यौपानेका अनुसार आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भैसकेको छ । अब चुरो काम बाँकी छ २ प्रतिशत । यो २ प्रतिशत काम सम्पन्न नभएसम्म बिजुलीको उत्पादन हुँदैन । त्यसैले अहिले सबैको ध्यान यही २ प्रतिशतमा केन्द्रित छ ।
जलविद्युत्का क्षेत्रमा अनन्त सम्भावना भएको देशका रूपमा परिचित छ नेपाल । नेपालकै पनि दोलखा जिल्ला जलविद्युत्को हब बनेको छ । धेरै लोडसेडिङका दिन र रात बिताएका नेपालीहरू आफ्नो नियतिसँग तर्सिएका छन् । उनीहरू जलविद्युत्का क्षेत्रमा नेपालले छिटै फड्को मारे देशको कल्याण हुने कुरा सोचिरहेका छन् । यसै क्रममा आउँछ माथिल्लो तामाकोसीको नाम । यो आयोजनाबाट विद्युत् उत्पादन ढिलो भएको छ । ढिलाइको मुख्य कारण २०७२ को भुइँचालो र भारतीय नाकाबन्दी रहेको बताउँछन् आयोजनाका अधिकारीहरू । भुइँचालो र नाकाबन्दीले १८ महिना आयोजनाको काम रोकियो । कामदारहरू लाखापाखा लागे । कामदार जुटाएर कामलाई लय ल्याउन निकै मेहनत गर्नुपर्‍यो । त्यसपछि पनि अरू अवरोध आइ नै रहे । जसोतसो त्यो संकट टारियो । अहिले यो आयोजनामा लय आइसकेको छ । आयोजनाका सुरुङ, बाँध, बालुवा छान्ने प्रबन्ध र टर्बाइनको काम सकिइसकेको छ । यसको अर्थ हो, आयोजनाको सिभिल, इलेक्ट्रो मेकानिकल, प्रसारणलाइन र सब–स्टेसन निर्माणका काम सम्पन्न हुने चरणमा छन्, तर विद्युत् उत्पादन गर्न पानी प्रवाहित गरेर चलाउनुपर्ने टर्बाइनमा पानी पठाउने पेनस्टक साफ्टको काम पूरा भएको छैन । सम्पूर्ण आयोजनाको जम्मा ५ प्रतिशत काम भनिएको पेनस्टक पाइप राख्ने काम पूरा नभएकाले आयोजनाका अधिकारी पनि अलमलमा परेका छन् । पेनस्टक पाइप राख्ने काम निकै कठिन पनि छ । यसका दुईवटा पाइप जोड्न ४८ देखि ९६ घण्टाको समय लाग्छ । भूमिगत तहसम्म पाइप झार्न चार घण्टा लाग्छ भने फिटिङमा आठ घण्टा लाग्छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अहिले देशका आँखाहरू केन्द्रित छन् । जनताको लगानी भएकाले पनि यसमा सबैको चासो रहनु स्वभाविक हो । मेलम्ची खानेपानी आयोजना समयमा पूरा नभएको घटनाले उद्वेलित भएका जनताको मनस्थिति माथिल्लो तामाकोसी पनि ढिलो हुँदा खलबलिनु अस्वाभाविक होइन । आयोजनाका प्राविधिक अधिकारीको मनमा पनि अलिकति संशय छ कि कतै पेनस्टक पाइपको काममा ढिलाइ भयो भने चैत मसान्तभित्रमा विद्युत् उत्पादन सम्भव हुनेछैन । तल्लो पेनस्टक पाइप १ सय मिटर जडान भैसकेको छ । अब २ सय ७३ मिटर पाइप जडान हुन बाँकी छ । यो स्तम्भकार आयोजनाको अवलोकनमा जाँदा पेनस्टक पाइप जडानको काम तदारुकताका साथ भैरहेको थियो ।
सबैको कामना छ, माथिल्लो तामाकोसीले २०७६ सालमै विद्युत् उत्पादन गरोस् । निश्चय पनि, यो आयोजना नेपाली लगानीको उपयोगिताका हिसाबले माइलस्टोन हो । यो आयोजना निर्माणका क्रममा दर्जनौं मानिसले ज्यान गुमाएका छन् । लाखौंका आशा र अपेक्षा जोडिएका छन् यससँग । यही सम्झेर आयोजनाका अधिकारीहरू निर्धारित समयमा विद्युत् उत्पादन गर्ने परिस्थितिको निर्माणमा लागून् । यो नै सबैको चाहना हो ।

पाठक मञ्च

पाठक मञ्च

- साप्ताहिक संवाददाता



मलाई त चलचित्रको ट्रेलर हेर्दा (फितलो देखियो पोइ पर्‍यो काले) नै चलचित्र पोइ पर्‍यो काले राम्रो छैन जस्तो लागेको थियो । नभन्दै त्यस्तै रहेछ । चलचित्रमा नाम चलेका कलाकारको ओइरो भए पनि उनीहरूले कथाअनुसार अभिनय गर्न सकेका छैनन्, जसले गर्दा चलचित्र फितलो भएको छ ।
सुमन भण्डारी



चलचित्रकर्मीहरूको नाटक (बढ्दै छ दूरी) नै बढी हुन्छ । मिल्दा सात जन्मदेखिको साइनो भएजस्तो व्यवहार गर्छन्, नमिल्दा कुकुर–बिरालोजस्ता हुन्छन् । त्यसैले यिनीहरूको सम्बन्धको कुनै भर हुँदैन । उनीहरूको मित्रतामा विश्वास पनि लाग्दैन । यो सबै केवल केही समयको फन्डा मात्र हो ।
अरुणा लामा


सरकारले कसैको पनि कला तथा क्षमतामा (सृजनामाथिको हस्तक्षेपविरुद्ध) अंकुश लगाउने काम गर्नु हुँदैन । अझ कलाकारको हकमा त यो कुरा झन् निन्दनीय छ । सबैको आ–आफ्नो शैली हुन्छ सृजना प्रस्तुत गर्ने । बाहिरतिर यस्तो कुरामा सबैलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइन्छ । नेपालमा पनि त्यस्तै हुनुपर्छ ।
पुष्कर श्रेष्ठ


साप्ताहिकले अघिल्लो अंकमा प्रकाशित गरेको (र्‍याम मोडलिङका क्विन) मोडलहरूसँग सम्बन्धित लेख गज्जबको लाग्यो । यसबाट पछिल्लो समयका मोडलहरूका बारेमा जान्न तथा बुझ्न मद्दत मिल्यो ।
प्रकृति न्यौपाने

Page 5
आवरण

हामी यस्तै त हो नि ब्रो

- राजाराम पौडेल

हामी यस्तै त हो नि ब्रो गीत समीर घिसिङ भीटेनले रमाइलो गर्दा–गर्दै सिर्जना गरेका हुन् । साथीहरूसँग बसेर रमाइलो गर्दा सन् २०१७–१८ तिर यो गीत तयार भएको हो । एकैछिनमा साथीहरूसँग बसेर तयार गरेको गीतलाई उनले डेढ वर्षपछि मात्र श्रोताहरू माझ ल्याएका थिए । चार महिना पहिले रिलिज भएको यो गीत हिट होला भन्ने भन्दा पनि गीत गाउने कर्मकै रूपमा तयार भएको थियो । यसको सिर्जना फ्रि–स्टाइलमा भएको छ । गीत रिलिज हुँदा शब्दका बारेमा प्रश्न उठ्ला भन्ने कुरा उनले कल्पनासम्म गरेका थिएनन् । उनमा हिपहप हो, यसलाई त्यस्तो सोचिन्न होला भन्ने थियो । गीतले धेरैको माया पनि पायो, २ करोड रिच पुगिसकेको गीत ४ महिनापछि विवादमा तानियो । फलस्वरूप भिटेन पक्राउ परे भने उक्त गीत युट्युब बाटै हटाइयो । उनले २४ घण्टा भन्दा बढी प्रहरी हिरासतमा बिताए । अहिले फेरि यसबाट केही पाठ सिक्दै सांगीतिक क्षेत्रमा अघि बढ्दैछन्– भीटेन । उनी यतिबेला नयाँ एल्बमको तयारीमा छन् । यो उनको तेस्रो एल्बम हुनेछ । सन् २०२० को मध्यतिर बजारमा ल्याउने तयारी छ उनको । भीटेन नयाँ एल्बमका गीतहरू तयार गर्दैछन् । सबै गीतको भोकल सिद्धिसकेको छ, अब फाइनल मिक्सिङ तथा मास्टरिङ गर्न मात्र बाँकी छ । यो एल्बम मोटिभेसनल खालको हुनेछ । जीवन बाँच्न सिकाउने खालको भएकाले एल्बममा समावेश यी गीत आफूलाई नै मन परेको उनले बताए । भीटेनले हालसम्म झन्डै ६० वटा गीत गाइसकेका छन् । एल्बमका रूपमा भने उनका दुईवटा एल्बम सार्वजनिक भएका छन् । एउटा सन् २०१७–१८ मा र अर्को २०१९ मा ।
हुनत उनी अन्डरग्राउन्ड र्‍याप गीत गाएर उदाएका हुन् । र्‍याप गीतमा नेपाली भाषा नै बढी प्रयोग गर्नु भीटेनका गीतको विशेषता हो । यस्ता गीत दर्शक–श्रोताले मन पराएका पनि छन् । उनले सन् २०१५ मा गरिब शीर्षकको गीत रेकर्ड गराए । यो नै उनको रेकर्डेड डेब्यु गीत थियो । सन्देशमूलक यही गीतले उनलाई सांगीतिक क्षेत्रमा ल्याएको थियो । उनका मान्छे खत्तम, लाहुरेको फेसन, खलासी, चुरोट, तातो न छारो, बहिनी, सिमसिमे पानी, हालखबर, अन्तिम चाहना, हिम्मत, इन्ट्रो आदि गीत दर्शक–श्रोताहरूले विशेष रुचाएका छन् ।
अहिले नेपाल भित्र र बाहिर उनका लाखौं फ्यान छन् । भीटेन व्यक्तिगत रूपमा भने लजालु स्वभावका छन् । ‘र्‍याप भनेको कच्चा शब्द अनि केही अश्लील पनि हुन सक्छ, प्रायगरी बोलिरहेको जस्तो, झर्किएको जस्तो । र्‍यापजस्तो पनि हुन सक्छ, बुझ्न खोज्नुपर्‍यो । सकारात्मक सोच राखेर हेर्ने–सुन्ने काम गर्नुपर्‍यो अनि मात्र नेपाली र्‍यापलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सकिन्छ,’ भीटेन भन्छन्— यसमा मनमा जे आउँछ त्यही नै गाउने हो ।
भीटेनको व्यस्तता बढ्न थालेको तीन वर्ष भयो । सबैका भावनालाई गीतमार्फत समेट्ने प्रयास गर्छन् उनी । रमाइला, हाँस्ने, नाच्ने तथा दुःख–सुखका गीत गाएका छन् उनले । आगामी दिनमा पनि यस्तै भेराइटीमा गीत तयार पार्ने उनको योजना छ ।
भीटेनलाई अलिकति फरक शैलीको पहिरन मन पर्छ । उनलाई स्वाग मन पर्छ । जिन्स, हुडिज, हिपहप जुत्ता, क्याप, ग्रेड गरिएको हेयर स्टाइल, आफूलाई मन लागेजसरी हिँड्न रुचाउँछन् । उनले दाहिने नाक छेडेर फुली पनि लगाएका छन् ।
विदेशका कार्यक्रममा विदेशी समेत नेपाली र्‍याप गीतमा रमाउने उनले बताए । हामीसँग पावर छ भन्ने कुरा विदेशीहरूलाई पनि थाहा छ । नेपालभित्र पनि राम्रो सपोर्ट पाउन सके नेपाली र्‍यापको माग बढ्ने उनको दाबी छ । ‘फ्युचर राम्रो छ, क्राउड कहिलेकाहीं बढी जोस्सिँदा सम्हाल्न गाह्रो हुन्छ’ उनले भने । आफूलाई गाह्रो पर्दा पनि अरुलाई सहयोग गरौं भन्ने भावना छ उनमा । मनमा लागेको कुरा भनिहाल्ने बानीका कारण कतिपय साथीले चित्त पनि दुखाउँछन् उनीसँग ।
भीटेन यो अवस्थासम्म आइपुग्न त्यति सहज भने थिएन । २३ वर्षअघि रौतहटको चन्द्रनिगाहपुरमा जन्मिएका हुन् उनी । बुबा कपिल लामा तथा ममी हेम लामाको पहिलो सन्तानका रूपमा जन्मिएका भीटेनका दुई बहिनी छन् । बाल्यकालमा उनी अलि मोटा थिए अनि लोसे पनि । त्यसैले सबैले उनलाई मोटे भनेर जिस्क्याउँथे । पछि पढाइको सिलसिलामा होस्टलमा बस्न थाले । त्यति बेला उनी फुटबल पनि खेल्थे । उमेर बढ्दै गएपछि उनको मोटोपन हरायो । त्यतिबेला नै उनी गीत गाउने, र्‍याप हान्ने काम गर्थे । हिन्दी तथा अंग्रेजी गीत मन पराउँथे । बिस्तारै उनले आफ्नो रुचि मिल्ने साथीहरू फेला पारे । उनको घरमा उफर थियो, हेडफोनको माइकलाई उफरमा जोडेर गीत गाउँथे उनी । भ्वाइस रफ आए पनि त्यसमा गीत सुनाउँदै आफ्नो प्रतिभा बाहिर ल्याए उनले । उनीकहाँ साथीहरू आउँथे, जोसँग र्‍याप ब्याटल पनि चल्थ्यो । साथीहरूको सपोर्ट मिल्यो, त्यसपछि भीटेन नेपाली र्‍यापलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनुपर्छ भन्ने सोचका साथ अगाडि बढे । त्यतिबेला उनी प्रकाश ओझा, नारद खतिवडा, उदीत नारायण झा आदिका गीत बढी सुन्थे ।
महोत्तरीको दुर्गा माविबाट एसएलसी उत्तीर्ण गरेपश्चात उनीे काठमाडौं हान्निए अनि शिशु निकुञ्ज, सीतापाइलामा भर्ना भए । पढ्न भनेर काठमाडौं आएका भीटेनलाई गीतसंगीतको नसाले पनि तानिहाल्यो । खासमा उनी काकाको घरमा बस्ने, स्कुल पढ्ने अनि फुर्सदमा काकालाई उनको व्यवसायमा सघाउने गरी काठमाडौं आएका थिए । काम सकेर उनी गीत रेकर्ड गर्न जान्थे । गीत रेकर्ड गर्दा राति अबेर हुन्थ्यो । मध्यरातमा घर पुग्दा काकाले ढोका खोल्दिएनन्, गाली गरे अनि त्यसपछि उनले सडकमै रात बिताए । यस्तो पटक–पटक भयो तर उनलाई दुःख लाग्दैनथ्यो, आनन्द मान्थे । किनभने उनी गीत रेकर्ड गरेर आएका हुन्थे र त्यसकै खुसी बढी हुन्थ्यो । साथीको घरमा स्टुडियो भएकाले रेकर्डिङ गर्न पैसा खर्च गर्नु पर्दैनथ्यो । यसले केही सहजता थियो उनलाई ।
यसरी र्‍याप गीततर्फ बढी आकर्षित हुन थालेपछि काकाको व्यवसायलाई कम समय दिन्थे उनी । त्यतिबेला काकाको व्यवसाय राम्रोसँग चलिरहेको थिएन, त्यसैले काकाले उनलाई घरबाट निकालिदिए । त्यसपछि उनी साथीको कोठामा गए । त्यहाँ पनि लथालिङ्ग अवस्था थियो, जसोतसो बसे । एक हप्तासम्म खाना नखाई चिया र चिउराको भरमा दिन काटे । उनले केही समय घरमा रंग लगाउने काम समेत गरे । ‘यदि त्यो समयमा घर फर्किएको भए आज म यो स्थानसम्म आइपुग्ने थिइनँ,’ भावुक हुँदै उनले भने ।

भीटेनले जीवनमा सुखभन्दा दुःख बढी देखेका छन् । उनीसँग पैसा थिएन । साथीहरूले गाडी भाडा भनेर पैसा दिए तर त्यो पैसा चुरोट खाएर सके अनि धुम्बाराहीदेखि ह्वाइट गुम्बासम्म पैदलै पुगेँ । यस्तो कार्य पटक–पटक गरेका छन् उनले ।
उनलाई पढ्न समेत झ्याउ लाग्थ्यो, त्यसैले कलेज छाडे । पछि पश्चाताप भयो अनि केही वर्षको ग्यापपश्चात् कलेज ज्वाइन गरे । उनले पहिलोपल्ट गीतबाट कमाएको ५ हजार रुपैयाँ थियो । ‘बुटवलमा कार्यक्रम आयोजना गरी २५ हजार दिने गरी उनलाई बोलाइयो तर पछि ५ हजार मात्र दिइयो,’ उनले भने । भीटेनले केही समय थान्का पेन्टिङको व्यवसाय गरे । अहिले भने उनी यो व्यवसायमा संलग्न छैनन् । सबै समय संगीतलाई नै दिन्छन् । कहिलेकाहीँ मुड चले थान्का पेन्टिङ बनाउने काम भने गर्छन् ।
आफ्नो सांगीतिक नाम भीटेन साथीहरूले जुराइदिएको उनी बताउँछन् । ‘यो नाम त खासमा मैले निकालेको भन्दा पनि साथी–भाइ बसेका बेलामा निस्किएको हो । यो नामका पछाडि खासै कुनै अर्थ छैन, कुरैकुरामा यो नाम आयो, सुन्दा अलि युनिक लाग्यो त्यति नै हो,’ उनले स्मरण गरे ।
‘हामी बसिरहेका थियौं । यसरी जमघटमा हुँदा केटाहरूको नाम राख्ने हुन्छन् नि टोलतिर । कसैलाई डल्ले भन्छन्, कसैलाई के भन्छन्, हो त्यस्तैमा मलाई खोइ के हिसाबले केटाहरूले त्यही नाम राखिदिए, मलाई पनि दामी लाग्यो’ उनले थपे । यो नामको विशेष अर्थ नभएको र यसका बारेमा अरु डिटेल तिनै साथीहरूसँग सोध्नुपर्ने उनले बताए ।
भीटेनको मन म्युजिकमा मात्र छ । उनी यताउता दायाँबायाँ केही मतलब राख्दैनन् । ‘मलाई कसले के भन्दैछ, कसले के गर्दैछ मतलब हुँदैन, मतलब गर्न थाल्यो भने दिमाग त्यतातिर डुल्न थाल्छ, यता आफ्नो ध्यान भंग हुन्छ । यो आफैंलाई घाटा हो ।’
कसले के राम्रो भन्यो कसले के नराम्रो भन्यो त्यो सोच्ने भन्दा पनि आफूले जे बुझेको छ त्यही गर्दै जाने उनको बानी छ । दर्शक–श्रोताको माया, सपोर्ट तथा मोटिभेसनले आज आफू यो स्थानसम्म आइपुगेको उनले बताए । भीटेन नाम स्थापित हुन उहाँहरूकै हात भएकाले अब पनि सपोर्ट गर्ने र माथी लाने कुरा दर्शक–श्रोताहरूकै हातमा भएको उनको बुझाइ छ ।
भीटेन कन्सर्टहरूमा व्यस्त छन् । अफर आएअनुसार मिलाएर गर्ने प्रयास गरिरहेको छु, राम्रो पनि भैरहेको छ, नराम्रो पनि भैरहेको छ, त्यसलाई समेत ध्यान दिएर कसरी अझ राम्रो गर्ने भनेर सोचिरहेको छु । प्रोगाममा क्वालिटि दिने आफ्नो योजना भएको उनले बताए । ‘अफरहरू आइरहेका छन्, ती अफरलाई एसेप्ट गरेर आफ्नो दिमाग–विचार लगाएर अझ राम्रो क्वालिटि दिने योजना छ, त्यसरी नै अघि बढिरहेको पनि छु,’ उनले बताए ।
भीटेन अहिलेसम्म अविवाहित नै छन् । विवाहका बारेमा केही नसोचेको उनी बताउँछन् । ‘हेरौं, टाइम लाग्ला, मेरा सपनाहरू धेरै छन्,’ उनले भने । संगीतको आम्दानीबाट उनी सन्तुष्ट छन् । आम्दानीका लागिभन्दा पनि गाउनकै लागि यो क्षेत्रमा समर्पित भएको हुँ । ठीकै भैरहेको छ । खान–बस्न पुगेको छ । कार्यक्रमबाट अलि–अलि आउँछ । दाइहरूले माया गर्छन्, दर्शक–श्रोताहरूले पनि रेस्पेक्ट गर्नुहुन्छ, माया दर्साउनुहुन्छ,’ –भीटेन भन्छन् ।
उनी राति अबेर सुत्छन् । बिहान उठ्दा कहिलेकाहीँ ८–९ नत्र ११ बज्छ, सुत्दाचाहिँ बिहान पाँच बजिसकेको हुन्छ । उनलाई बेलुका निद्रा लाग्दैन, कहिलेकाहीँ भने २–३ बजे नै सुत्छन् ।
उनको दैनिकि स्टुडियोमै बित्छ । उठ्नेबितिकै चिया खायो, स्टुडियो छिर्‍यो, तानतान–तुनतुन गर्‍यो यताउता गर्दा–गर्दै दिन जान्छ । भीटेन गीत लेख्दै दिन बिताउँछन् । उनले एक महिनामा १० वटा गीत तयार पारेका थिए । उनी खासै घुम्न निस्किँदैन । बस, काममा मात्र ध्यान दिन्छन् ।

Page 6
आवरण

हिपहप संगीत बाउन्ड्री लेस हुन्छ

- साप्ताहिक संवाददाता

हामी यस्तै त हो नि ब्रो गीतका कारण चर्चा अनि विवादमा आएका नेपाली हिपहप स्टार समीर घिसिङ भीटेन नेपाली हिपहपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन चाहन्छन् । यद्यपि उनी आफ्नो यही पछिल्लो गीतका कारण पक्राउसमेत परे भने उक्त गीत युट्युबबाट हटाउन बाध्य भए । अहिले उनी पुनः आफूलाई परिमार्जित र परिष्कृत गर्दै अघि बढ्न खोजिरहेका छन् । आफ्नो २४ घण्टे गिरफ्तारीपछि सार्वजनिक रूपमा कुनै प्रतिक्रिया नजनाएका भीटेनले साप्ताहिककर्मी राजाराम पौडेलसँग खुलेर कुराकानी गरे ।


तपाईंले गाउने गीतको विधा कुन हो ? कसरी यसतर्फ आकर्षित हुनुभयो ?
पूरै अर्थात् प्योर हिपहप हो, हिपहप थरी–थरीको हुन्छ । यसलाई आ–आफ्नो हिसाबले बनाउन मिल्छ, यस्तै हुनुपर्छ भन्ने लिमिट हुँदैन । रमाइलो गर्दैछौं भने जोक्स हुन सक्छ, त्यसलाई कुन हिसाबले प्रिजेन्ट गर्दैछौं, त्यसले निर्धारण गर्छ । रमाइलो गर्ने, पार्टी गर्ने हिसाबले बनाइएको छ भने डान्स म्युजिक हुन्छ, क्लब म्युजिक हुन्छ । यस्तो गीत आमाबाबु–छोराछोरी सबै बसेरसँगै हेर्नैपर्छ भन्ने छैन । हामीले जबर्जस्ती गीत सुन भनेर भनेका पनि हुँदैनौं, बरु त्यहाँ हामीले सूचना दिएका हुन्छौं । भिडियो हेर्नुभन्दा अघि, गीत सुन्नुभन्दा अघि १८ वर्षभन्दा मुनिकाले नहेर्नु भनेर लेखिएको हुन्छ, अनि हामीले युट्युबतिर इमेल नहुनेहरूले हेर्नै नमिल्ने पनि बनाइदिएका हुन्छौँ, १८ वर्ष मुनिकाले हेर्न नमिल्ने बनाइदिएका हुन्छौँ । हिपहपमा त्यो हुनैपर्छ किनभने हिपहप यस्तो खालको आर्ट हो जसको कुनै लिमिट छैन, सिस्टमभन्दा बाहिर जाने संगीत हो यो । ‘ठग लाइफ’ भन्ने शब्द सुन्नुभएको होला नि, त्यो हिपहपबाटै निस्किएको हो । हुन त त्यो राम्रो कुरा होइन होला तर पनि यसले हिपहप त्यहीँबाट जन्मिएको जनाउँछ । आफूले हेर्दै आएको, पहिल्यैदेखि सिक्दै आएको, थाहा हुँदै आएको, सुन्दै आएको हुनाले यसकै हावाले भेट्यो मलाई, त्यसैले म हिपहपमै रमाएँ । यो म्युजिक मलाई मन पर्नुको खास कारणचाहिँ यो सीमाभन्दा बाहिर हुनु पनि हो ।

यस्ता गीतमा विरोधचाहिँ किन हुन्छ ? सुन्नेले के कुरा बुझ्नुपर्छ ?
हिपहप भनिसकेपछि कति कुरा जोक्स हुन्छ, त्यसमा कतिलाई होच्याइएको हुन्छ, कतिलाई जिस्क्याइएको हुन्छ, खिसी गरिएको हुन्छ, हाँसोमा उडाइएको हुन्छ । कतिलाई डिस भनिन्छ, एक–अर्कालाई डिस गर्ने कुरा हुन्छ, र्‍याप ब्याटलमा जस्तो । हिपहपमा डिस गर्ने मेरा पनि कतिपय गीत छन्, तर सुन्नेले कसरी लिनुपर्‍यो भन्दाखेरि यसले मलाई भन्यो कि भनेर लिइयो भने उसलाई रिस उठ्छ, अनि उसले विरोध गर्छ, तर त्यो गीत म आफैं गाउँदै छु भन्ने हिसाबले फिल गर्‍यो भने उसलाई मज्जा आउँछ । जब र्‍यापरको आवाज आफूले नै बोलेजस्तो लाग्छ त्यो कुराले मोटिभेसन आउँछ, एक्सप्रेसन आउँछ, हो त्यसरी लिने हो हिपहपलाई, तर मानिसहरूले नेगेटिभ हिसाबले लिइदिन्छन् अनि विरोध हुन्छ ।

विश्वमा हिपहप म्युजिकको ट्रेन्ड कस्तो छ ? हिपहपमा देखाउने स्टाइल कसरी सिर्जना हुन्छ ?
संसारभरि नै सबैभन्दा बढी हिट पनि हिपहप नै छ, मेरो दृष्टिमा अहिलेको नम्बर वान म्युजिक भनेकै हिपहप म्युजिक हो । सबैभन्दा बढी आम्दानी गर्ने, सबैभन्दा बढी बजार भएको विधा पनि यही हो । अहिले पनि र्‍यापरहरूले घाँटीभरि चेन नै चेन (सिक्री) अनि हातभरि पैसा नै पैसा देखाएका हुन्छन् । उनीहरूले पैसा–सुन नै देखाउन खोजेका होइनन्, तर किन देखाए भन्ने कुरा आउँछ, स्ट्रगल गर्‍यो, दुःख गरेर कमायो अनि त्यसको प्रदर्शन गर्‍यो, हिपहप त्यसरी नै चलिरहेको छ । यसको अर्थ आफूसँग छ भने त्यसलाई देखाउने हो, स्टाइल दिने हो भन्ने हो, त्यही भएर ‘स्योयाक’ भन्ने शब्द नै स्टाइल हो । स्योयाक शब्द अरु जनराका गीतले निकालेको शब्द होइन । अलिकति मात्तिने पारा देखाउने भएर यसलाई कतिपयले मन नपराउनु भएको हो । नेपालमा मात्र नभएर संसारभरि नै यस्तै छ ।

नेपालमा तपाईंहरूले गाउनुभएको हिपहपमा प्रयोग भएको शब्दलाई लिएर प्रश्न उठ्यो, अन्य देशमा प्रयोग हुने शब्द कस्तो पाउनुभएको छ ?
नेपालमा हिपहप भनेको के हो, र्‍याप भनेको के हो भनेर बुझ्दा यम बुद्धले आमा गीत गाए, साथी गीत गाए, त्यो खालको गीत मात्र र्‍याप हो भने जसरी लिन्छन् । किनभने त्यसमा त एउटा म्यासेज छ पोजेटिभ खालको । त्योचाहिँ र्‍याप हो, त्यसबाहेक अरु र्‍याप होइन, अरु भनेको छाडापन हो, यताउता भन्ने चलन छ । यस्तो खालको मनस्थिति छ हामीकहाँ । हिपहप भनेपछि सबै थरी हुन्छ, यसमा रमाइलो पनि गर्छ हिपहप आर्टिस्टले, गर्दैन र ? जहिले पनि दुःखी भएर निराशाको गीत वा मोटिभेसनल गीत मात्र गाइँदैन नि, रमाइलो पनि होला, क्लब पार्टी आदितिर जाने कुरा पनि भयो— माया प्रेम पनि बस्ने भयो, माया–प्रेमको गीत पनि गाइदिने भयो । हिपहपमा सबै खालका गीत गाउन सकिन्छ । म्युजिक जस्तो पनि हुनसक्छ । अब नेपालमा जस्तो पार्टी गर्‍यो त्यस्तै गीत बनाइयो तर त्यो पचेन । अहिले अनलाइनबाट गीत बिक्री हुन्छ, अनलाइन लिसनिङ हुन्छ, तर यहाँ सरकारले दिएको सिस्टम छैन, न यहाँ कुनै राष्ट्रिय टेलिभिजन, रेडियोले हाम्रो गीत बजाएको छ, न सरकारले कुनै स्थान दिएको छ, छैन नि ? डाइरेक्ट इन्टरनेट प्लेटफर्मबाट गएको हो । जुन प्लेटफर्म नेपाल सरकारले दिएको पनि होइन । त्यो सिस्टम, इन्टरनेट, युट्युब नेपालको होइन, युट्युब, इन्टरनेट सबैको साझा हो । यो छुट्टै संसार हो । भावनात्मक खालको गीत पनि हुन्छ यसमा । र्‍याप भन्नाले यमबुद्धजस्तै मात्र पनि होइन, हुन त मेरो पनि त्यस्तै एक–दुईवटा गाना छन्, अझै पनि आउँदैछन् त्यस्ता गीत, म जहिले पनि गर्छु यस्ता गीत, मोटिभेसन फरएभर हुन्छ, जहिले पनि चाहिन्छ मानिसलाई, म पनि त्यस्तो गीत गर्छु, अरू गीत पनि आउँदैछन् तर र्‍याप त्यति मात्र होइन, र्‍याप सबै थोक हो ।

नेपालमा हिपहपको क्रेज कस्तो छ ?
एकदमै धेरै छ । र्‍याप म्युजिककै क्रेज छ, अहिलेको जमानामा । पहिले–पहिले अरूकै जमाना थियो होला । रक म्युजिक, रक ब्यान्डहरू निकै चल्थे, यताउता सबैतिर ब्यान्डहरू हुन्थे, तर अहिले र्‍यापको क्रेज छ । जसरी हामी फुटबलबाट आकर्षित भएर गल्ली–गल्लीमा फुटसल खेल्छौं, र्‍याप पनि लगभग त्यस्तै भैसक्यो ।

हिपहप तथा र्‍याप गीतले कुन उमेर समूहलाई बढी आकर्षित गरेको छ ?
र्‍याप खासमा युवाहरूका लागि हो, स–साना बच्चाहरूलाई पनि थाहा छ र्‍यापका बारेमा, बूढाहरूलाई त्यति जानकारी नहोला । खासगरी ८–१० वर्षभन्दा माथिकोमा यसको क्रेज छ । १२–१३ वर्षकाले हल्का रमाइलो गर्छन् भने १४–१५ वर्षकाले बुझ्न थाल्छन् । १६ देखि १८ वर्षकाले मज्जाले बुझेका हुन्छन् । १८ देखि २० वर्षकालाई र्‍यापले बढी छुन्छ । त्यसभन्दा माथिकाले र्‍यापलाई यस्तो हो भन्ने भिजनले (पूर्वाधार बनाएर) हेर्छन्, राम्रो देख्नेले मन पराउँछन्, नराम्रो देख्नेले मन पराउँदैनन् । त्योभन्दा जति माथिको उमेर समूहमा गयो, यसको क्रेज बिस्तारै कम हुँदै जान्छ ।

अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सरकारको समर्थन छ त ?
सरकारले समर्थन गरेको छ, नगरेको होइन । के समर्थन गरेको छ भने हामीलाई देशमा बस्न दिएको छ, सरकारको समर्थन त्यही हो ।

हामीले र्‍यापमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न के गर्नुपर्छ ? यसको मुख्य कुरा भाषा हो कि संगीत ?
मुख्य कुरा स्वतन्त्रता हुनुपर्छ, हामीले बोल्ने भनेको नेपाली भाषा हो, यो भाषा नेपालभन्दा बाहिर नेपालीबाहेक अरु कसैले बुझ्दैनन्, तर म्युजिकमा भाषा मात्र हुँदैन । अस्ति भाषाले गर्दा असर परेको हो, भाषाले गर्दा समाजमा विकृति फैलिने कुरा आयो । आफ्नै भाषा नेपालीमा बोलेको छ भने त्यो यहाँका जसले पनि बुझ्ने भए । त्यसमा नराम्रो शब्द परेको छ भने त त्यो अझ फैलने भयो भन्ने कुरा आयो । तर भाषा मात्र नभएर मुख्य कुरा म्युजिक हो, भाषाले म्याटर गरेन, भाषाले त्यहाँभित्र रोक–छेक केही गरेन, म्युजिक हो मुख्य कुरा, संगीतले तपाईंको भाषा बुझ्दैन । त्यही भएर मुख्य कुरा त म्युजिक राम्रो हुनुपर्छ । म्युजिक दामी भैसकेपछि जहाँसुकैको मानिसलाई छुन्छ । अस्तिको हाम्रै गीत पनि धेरैले मन पराइरहनुभएको छ । संसारभरिका सबै मानिसलाई टच गर्न सकिन्छ भने नेपालभित्रै खुम्चिएर बस्ने कुरा त भएन नि ।

हिपहपमा अगाडि बढिरहनुभएको छ, नेपाली म्युजिकलाई कहाँ पुर्‍याउने सपना छ तपाईंको ?
सपना त छ नि, अर्बौं–खर्बौं रिच पुर्‍याउनेछ । त्यो देखेपछि त कहाँको आर्टिस्ट हो भनेर खोजी गर्छन् दुनियाँले । अनि थाहा हुन्छ नि नेपालको हो भनेर, तर भाषा त उनीहरूले बुझेका हुँदैनन् । जे भए पनि म्युजिक चलिसकेपछि सरकारले यसले यस्तो बोल्यो भनेर रोक्न मिलेन नि । फाइदा त हाम्रो देशलाई भएको हुन्छ, देशको नाम संसारभरि फैलिएको छ, आज एउटा आर्टिस्टले यो लेभलमा बसेर काम गर्न पाएको छ । त्यो आर्टिस्टलाई देखेर हजार जना नयाँ आर्टिस्ट निस्कने हो । सबैले म्युजिकको लाइनमा रोजगारी पाउने भए, स्वतन्त्रतापूर्वक सिर्जना गर्न पाउने भए । यस्तै ठाउँमा नेपाली म्युजिकलाई पुर्‍याउने सपना छ मेरो ।

त्यस्तो सपना पूरा हुन नेपालबाट सम्भव होला त ? केही आधार छन् त्यसका ?
एकदमै सम्भव देखिरहेको छु, एकदम राम्रो छ । नेपाली म्युजिकको दायरा फराकिलो हुँदै गएको छ । नेपाली र्‍याप गीत मात्र नभएर नेपाली म्युजिक जस्तो ‘कुटुमा कुटु’ को एक सय मिलियन पुग्न थालेको छ । एक सय मिलियन भनेको इन्टरनेसनल भ्यूज हो । मैले भन्न खोजेको मार्केट देख्यो नि, अब एक सय मिलियन देख्दाखेरि इन्डियन मार्केटले पनि आँखा लगायो, मिलेर काम गर्न सक्यो, हाम्रो आर्टिस्टको कला पनि भारतभरि फैलने भयो । यसरी फैलिएपछि त बजार ठूलो भयो नेपालको पनि, अरू–अरू देशसँग लिंक भयो । भारतमा मात्र नभएर बाहिर पनि सबैले देख्ने भए । यो फाइदाको कुरा हो । सम्भव छ जस्तो लाग्छ । र्‍याप म्युजिकको मार्केट पनि छ । मेरो अस्तिको गीत पनि २० मिलियन पुगेको थियो, जुन निकै राम्रो हो नेपालको सन्दर्भमा । त्यसले आर्टिस्टलाई फाइदा हुन्छ, देशको नाम अघि बढ्छ, पैसा पनि झर्छ, आफ्नो देशमा इनकम आउँछ, आर्टिस्टले कमाएर लिएर आउँछ । सबै हुँदै गएको पनि छ । अरूहरूले पनि काम पाएका छन् ।

कसरी पक्राउ पर्नुभयो ? प्रहरी हिरासतको अनुभव सुनाउनु न ?
म स्टुडियोमै थिए । त्यतिबेला थाहा दिएनन्, झ्याप्प आए । रेकर्डिङका लागि तयार हुँदै थिए, झम्सीखेलस्थित आफ्नै स्टुडियोमा थिएँ । पक्राउपछि २४ घण्टा भन्दा बढी हिरासतमा बसे होला । तनावै–तनाव भयो, प्लानिङहरू थिए, धेरै कुरा सोचिरहेको थिएँ, सुटिङलगायतका योजना त्यत्तिकै थिए । तिहारको मुखमा एक्कासि पक्राउ पर्दा टेन्सन भैरहेको थियो । पक्राउ परेपछि धेरै कुरा सोच्दा–सोच्दै समय बित्यो ।

त्यो २४ घण्टाले तपाईंलाई के सिकायो ?
धेरै कुरा आफूले सोचेर पनि सिकें, अब के हुन्छ भन्ने सोचें, यताउता सोधपुछ गरें । त्यहाँ भएका मानिसलाई के कसरी आएको हो भनेर सोधे, कोही आफूले हाँकेको गाडीले मान्छे किचेर आएका थिए, कसैले झगडा गरेर आएको भने, एक–अर्कासँग कुरा सेयरिङ भयो । त्यहाँ कसैले यस्तो गीत गाउनु हुन्न भनेनन्, सबैले राम्रो कुरा गरे । गल्ती त हुन्छ मानिसबाट, तर राम्रा खालका मानिस नै थिए त्यहाँ, जानी–जानी होइन झुक्किएर गल्ती गर्नेहरू बढी थिए । हिरासतमा रहेका सबैले राम्रो कुरा गरे । मलाई थाहा नभएका कुराहरू सिकाए । मैले उनीहरूको कुरा सुने । मेरो कुरा पनि सुने उनीहरूले ।

यो अनुभवबाट नयाँ गीत जन्मने सम्भावना छ ?
अवश्य छ, हिरासतमा बस्दाको अनुभवबाट नयाँ गीत मज्जाले जन्मन्छ । त्यहाँ मैले दुःख पनि देखे, कति तनावमा थिए, यद्यपि दुःख पर्दा पनि हाँसेर बसिरहेका थिए, म त टेन्सनमै थिए, सुरुको दिन सबैलाई त्यस्तै हुँदो रहेछ । म त हाँस्न पनि सकिरहेको थिइनँ । उनीहरू हाँसिरहेकै थिएँ । उनीहरूलाई हेर्दा खासै केही भएको छैन भन्ने भयो । उनीहरूले पनि सहानुभूति दिए, सबै कुरा ठीक हुन्छ भाइ भने । उनीहरू हाँसिरहेको, जिस्किरहेको देख्दा, आफ्नो टेन्सन पनि हरायो । यद्यपि भोलि के गर्ने भन्ने सम्झिँदै बसें । प्लानिङ बनाएँ, अब यसो–यसो गर्छु भनेर । नयाँ–नयाँ आइडिया निकालें । म यसरी मुभ हुन्छु भनेर निर्णय लिएँ । यातना जस्तो केही पनि भएन ।

यसबाट के–कस्तो पाठ सिक्नुभयो ?
धेरै पाठ सिकियो, म्युजिकलाई राम्रो हिसाबले, मैले कुरा पनि गरें, माथि–माथिका मानिसहरूसँग कुरा गरे, उहाँहरूले पनि मोटिभेसन दिनुभएको छ, छोड्नुहुन्न, हार नखानुहोला यताउता भन्नुभएको छ सबै जनाले, गीत राम्रो लाग्यो तर मिलाएर गर्नुपर्छ भन्ने खालको कुरा पनि छ । व्यंग्य गर्न त मिल्यो कसरी गर्ने भन्ने खालको कुरा सिकें । कानुन के हो सिस्टम के हो बुझ्ने अवसर पाएँ ।

कुनै सम्झौता पनि गर्नुभयो ?
कुनै सम्झौता त भएको छैन, सीधा कुरा गरियो, अरु केही भएन । अब एक महिनापछिको तारेख दिइएको छ ।

परिवारबाट कस्तो समर्थन छ ?
बुबा भेट्न आउनुभएको थियो । परिवार पोजेटिभ छ । प्रेसर केही छैन । म ढुक्क भएर बसेको छु । खुसी नै छु ।

तपाईंका गीत मन पराउनेहरूलाई के भन्नुहुन्छ ?
सबैलाई धन्यवाद । मैले राम्रोका लागि प्रयास गरिरेहको छु । मलाई गाह्रो पर्दा धेरैले म्यासेज गर्नुभयो त्यसबाट म उत्साहित भएँ, खुसी लागेको छ ।

Page 8
प्रविधि

फेसबुकमा विज्ञापन, कति छ प्रतिफल ?

- सुजित लुइँटेल

फेसबुक प्रयोगकर्ताहरूको गोपनीयता र व्यक्तिगत डाटा सेयरका बारेमा धेरै गुनासा हुँदाहुँदै पनि सोसल मिडियाको दुनियाँमा फेसबुकले एकछत्र राज गरिरहेको छ । फेसबुक साथीभाइहरूसँग सम्पर्क गर्ने माध्यमका रूपमा सुरु भए पनि विश्वव्यापी रूपमा २ दशमलव २ अर्ब प्रयोगकर्ता भएका कारण यसले व्यापार–व्यवसायलाई पनि महत्व दिन्छ भन्ने कुरा बुझ्न गाह्रो छैन । कम्तीमा सिद्धान्तमै भए पनि पछिल्लो दशक फेसबुक साना व्यवसायहरूलाई ग्राहकसँग जोड्ने प्रमाणित उपाय भएको छ । यसमा विशाल प्रयोगकर्ता छन् र सम्भावित ग्राहकहरूसँग जोडिने यो एउटा उत्तम उपाय पनि हो । यद्यपि धेरै प्रयोगकर्ता हुँदैमा सबै ग्राहकमा परिणत हुन्छन् भन्ने छैन । कुनै पनि ब्रान्ड अथवा साना व्यवसायको प्रवर्द्धनमा खर्च गरिने सबै प्रयास तथा पैसा अरू कुनै ठाउँमा उचित तरिकाले राख्न पनि सकिन्छ ।
फेसबुकमा विज्ञापन सही रूपमा लक्षित गर्न त सकिन्छ तर, उक्त विज्ञापनमा आँखा पर्नु मात्र पर्याप्त हुँदैन । यदि उक्त विज्ञापनबाट आफ्नो सामान बिक्री गर्न सकिएन भने सकारात्मक प्रतिफल आउँदैन । सरल शब्दमा भन्ने हो भने फेसबुक विज्ञापन नवीनतम नौटंकी हो, जसले डिजिटल युगमा डेलिभर गर्ने भन्दा बढी कसम मात्र दिन्छ ।

प्रतिफल राम्रो छैन
विज्ञापन गरिएका फेसबुक पोस्टमा केही ध्यानाकर्षण त हुन्छ, बहस पनि चल्छ, मानिसहरूको संलग्नता राम्रै हुन्छ । साना व्यवसायका मालिकहरू धेरै मानिस आफ्नो ब्रान्डमा संलग्न भएको देख्दा उत्साहित पनि हुन सक्छन् तर, धेरैजसो प्रयोगकर्ताले उक्त पोस्टलाई ‘लाईक’ मात्र गर्छन् । लाइक गर्नु प्रतिफल पाउनु होइन । फेसबुकमा आफ्नो व्यस्त समय खर्च मात्र हुन्छ र यसले न त राजस्व उत्पादन गर्छ न त बिल नै भुक्तानी ।

अर्को एउटा सञ्चारमाध्यम मात्र
नकारात्मक कुरा गर्ने हो भने विज्ञापन गरिएको फेसबुक पेजले अधिक ‘लाईक’ र ‘कमेन्ट’ मात्र पाउँछ । फेसबुकलाई लामो समयसम्म आवश्यक ‘नेटवर्क’ का रूपमा हेरेका व्यवसायीहरूले के बुझ्नु जरुरी छ भने फेसबुक अर्को एउटा सञ्चारमाध्यम मात्र हो । यसमा मानिसहरू केही गर्न रुचाउँछन् भने त्यो टिप्पणी मात्र हो । उनीहरू वास्तविक ग्राहक होइनन् । ग्राहकहरूले त केही खरिद गर्छन् । यी व्यक्तिहरू केवल कमेन्टेन्टर हुन् । कुनै वेबसाइटमा सामान्यतः व्यवसायी एवं ग्राहकबीच सीधा सम्पर्क हुन्छ, तर फेसबुक एउटा सार्वजनिक फोरम हो । यसमा ग्राहकसँगको संलग्नता सर्वोत्तम उपाय होइन ।

वैकल्पिक उपाय
फेसबुक मात्र सबैथोक होइन । सबैले बुझ्नुपर्ने कुरा ‘इन्स्टाग्राम’ पनि उत्तिकै प्रभावकारी छ, अझै भनौँ भने जमाना ‘एन्फ्लोंसर मार्केटिङ’ को छ । खास कुरा फेसबुक प्रमोसन अनलाइन प्रमोसनको एक मात्र माध्यम हुनुपर्छ भन्ने होइन ।

विज्ञापनका अरू नेटवर्क
फेसबुकबाहेक अरू नेटवर्कको कुरा गर्ने हो भने पिन्त्रेस्ट, स्न्यापच्याट, युट्युब, इन्स्टाग्राम आदि पनि त्यत्तिकै उपयोगी छन् । यिनीहरूमा लक्षित विज्ञापनका अवसरहरूमा ध्यान पुर्‍याउनु पनि फाइदाजनक नै हुन्छ ।

एन्फ्लोंसर मार्केटिङ
प्रभावकारी ढंगले व्यापार वा सेवा पदोन्नति गर्न अनलाइन एन्फ्लोंसरको सहयोग लिनु उचित मानिन्छ । सहि व्यक्ति जसले सुसमाचार फैलाउन मद्दत गर्छ त्यो व्यक्ति सस्तो नहुन पनि सक्छ, तर त्यसले ठूलो असर पार्न सक्छ । यदि यसबाट आशा गरेभन्दा बढी नकारात्मक प्रभाव पर्छ भने फेसबुक विज्ञापन नै गर्नुपर्छ भन्ने छैन ।

प्रविधि

१६ लाखभन्दा बढी मोबाइल सेट आयात

- साप्ताहिक संवाददाता

दसैं तिहारको बजारलाई लक्षित गर्दै नेपाली बजारमा १६ लाखभन्दा बढी मोबाइल सेट आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा कुल १६ लाख २३ हजार ६ सय ९५ वटा मोबाइल सेट आयात भएका हुन् । विभागका अनुसार साउनसम्म कुनै मोबाइल सेट आयात भएको देखिँदैन, तर पछिल्ला दुई महिना अर्थात भदौ र असोजमा भने त्यति ठूलो संख्यामा मोबाइल सेट आयात गरिएको पाइन्छ । ती मोबाइल आयातका लागि ७ अर्ब १९ करोड ५ लाख ७५ हजार रुपैयाँ मुलुकबाट बाहिरिएको छ । जुन अघिल्लो वर्षको तुलनमा निकै बढी हो । अघिल्लो वर्ष सोही अवधिमा ६ अर्ब २९ करोड ६२ लाख ९४ हजार रुपैयाँमा कुल १३ लाख ६२ हजार ३ सय ३१ वटा मोबाइल सेट आयात भएका थिए । यो तथ्याङ्कले नेपालमा मोबाइलको बढ्दो व्यापारलाई दर्साउँछ । आयात हुने मोबाइलमध्ये झन्डै ८० प्रतिशत बजार भने चिनियाँ मोबाइलको छ । चीनबाट मात्र ३ अर्ब ३३ करोड ८९ लाख मूल्य बराबरका १२ लाख ८७ हजार भन्दा बढी अर्थात कुल आयातको ७९ दशमलव १२ प्रतिशत मोबाइल दुई महिनाको अवधिमा भित्रिएका छन् । धेरैजसो कम्पनीका मोबाइल फोन चीनमै एसेम्बल भएर आउने भएकाले पनि यस्तो देखिएको व्यवसायीहरू बताउँछन् ।

प्रविधि

टिकटकको पनि स्मार्टफोन

- साप्ताहिक संवाददाता

टिकटकको मुख्य निर्माता बाइटडान्सले पहिलो स्मार्टफोनका रूपमा जिंगुओ प्रो ३ बजारमा उतारेको छ । उक्त मोबाइल स्मार्टिसन ब्रान्डमा उपलब्ध गराइएको छ । चाइनिज फोन निर्माता कम्पनी स्मार्टिसन ब्रान्डको प्याटेन्ट तथा ट्यालेन्टलाई टिकटकले किनेको समाचार आएको करिब एक वर्षपश्चात टिकटकले स्मार्टफोन बजारमा ल्याएको हो । प्रयोगकर्ताहरूले यो स्मार्टफोनको लक स्क्रिन स्वाइप गर्दा चाइनिज भर्सनको टिकटक ‘डोउइन’ चलाउन सक्नेछन् । त्यसैगरी कुनै पनि अवधिको भिडियोमा टिकटक इफेक्ट तथा फिल्टर प्रयोग गर्न सकिनेछ । यसमा क्वालकम स्न्यापड्रागन ८५५ प्लस चिपसेट, १२ जीबीसम्मको र्‍याम, २ सय ५६ जीबी स्टोरेज तथा चारवटा क्यामेरा छन् । हाल चीनमा मात्र उपलब्ध यो स्मार्टफोनको अन्तर्राष्ट्रिय बजार मूल्य २ हजार ८ सय ९९ युआन अर्थात करिब ४ सय १२ डलर तोकिएको छ ।

प्रविधि

पब्जीको लोकप्रियता घट्यो

- साप्ताहिक संवाददाता

नेपालसहित विश्वभर खेलिने अनलाइन गेम प्लेयर अननोन्स ब्याटलग्राउन्ड अर्थात् पब्जीको लोकप्रियता गत वर्षको तुलनामा ८२ प्रतिशतले घटेको छ । पब्जीले जनवरी २०१८ को तुलनामा ८२ प्रतिशत प्लेयर्स गुमाएको स्टिम चार्ट्सको रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्ट अनुसार पछिल्ला चार सातामा पब्जीका औसत मासिक प्लेयर्स २ लाख ८८ हजार ८ सय ४८ थिए भने सन् २०१८ जनवरीमा यो संख्या १५ लाख ८४ हजार ८ सय ८६ प्रतिमहिना थियो । पब्जी गेमको लगइन सन् २०१८ को जुनमा ४० करोड पुगेको थियो । यो गेमका सक्रिय प्लेयर्सको संख्या लगभग एक वर्षसम्म १० लाख भन्दा माथि थिए । पछिल्ला दिनमा आएको प्लेयर्सहरूको कमीलाई पूर्ति गर्न तथा प्लेयर्सहरूलाई फिर्ता ल्याउन कम्पनीले नयाँ अपडेटहरू ल्याइरहेको छ । हालै मात्र कम्पनीले अपडेट ५.१ का साथ सिजन ५ रिलिज गरेको थियो । यो नयाँ अपडेटमा कैयौं नयाँ फिचर्स तथा एलिमेन्टहरू जोडिएका छन् । त्यसैगरी यसको मोबाइल भर्सनमा पनि ०.१५.० अपडेट हुने भएको छ, जसमा विभिन्न नयाँ फिचर थपिएका छन् 

 

Page 9
केवल एक प्रश्न

नेताहरु किन गतिछाडा हुँदै गएका हुन् ?

- साप्ताहिक संवाददाता

जनता भेडा र स्वाँठ भएकाले नेताहरू गतिछाडा भएका हुन ।
सुवास रेग्मी, संगीत व्यवसायी

संस्कार नपुगेकाले नेताहरू गतिछाडा भए ।
सुशील नेपाल, भीजे

यो समाज नै गतिछाडा हुँदै गएको छ । त्यसमाथि शक्तिमा हुनेहरूलाई जे गरे पनि आफ्नै हातमा हुने भएकाले जे पनि गर्छन् नि ।
सिर्जना सुब्बा, रंगकर्मी

सिस्टमको अभावले गति छाडेका हुन् । दुई मिनेटभित्र कारागारमा पुग्ने व्यवस्था नहुँदासम्म यस्तै हो ।
श्याम भट्टराई, निर्देशक

अनपढ तथा संस्कारविहीन नेता बढी भएर यस्तो समस्या आएको हो ।
तारामणि खतिवडा, किबी उद्यमी

नेपालमा प्रारम्भिक कालदेखि नै ठूलाले सानालाई दबाएर राख्ने अनि हैकम चलाउने चलन चल्दै आयो । त्यही कुरा सुने अनि देखेका अहिलेका पुस्ताले पनि त्यसको सिको गरे । यिनीहरूमा जे गर्दा पनि जनताले मानिहाल्छन् भन्ने भ्रम पैदा भयो । पैसा भएपछि कोही बोल्दैन, तैं चुप मै चुप हुन्छ भन्ने दम्भ अनि महत्वाकांक्षाले जथाभावी गर्न थाले । जनता पनि पैसामा बिकेका कारण यिनीहरूविरुद्ध बोल्न सकेनन् र विकृति अझ बढ्दै गयो ।
श्रीदेव भट्टराई, कलाकार

विधिको शासन नहुनु मुख्य कारण हो । थिति बिग्रिएको छ । नेताहरूमा संस्कारको कमी छ । नैतिक आचरण समाप्त हुँदै गएको छ । अनुशासनहीनता बढेको छ भने भ्रष्टाचार मौलाएको छ । सेवाका लागि भन्दा पनि पदमा पुगेर प्रतिष्ठासँगै पैसा कमाउने तीव्र लालसाले आज राजनीति तथा सामाजिक काम सेवा भन्दा पनि पेशा र व्यापारमा रूपान्तरित हुँदैछ । जसरी पनि पदमा पुग्ने र त्यसको दुरुपयोग गर्ने चलन बढ्दो छ । अपराधको ढाकछोप एवं अपराधीको संरक्षण राजनीतिको पर्याय बन्दैछ । मुख्य कुरा दण्डहीनताका कारण गतिछाडापन बढेको छ । अनैतिक कार्य र अपराध गर्दा कार्वाही होला भन्ने डर कसैमा छैन ।
एकराज गिरी, पत्रकार

राजनीति भ्रष्ट हुँदै गयो । नैतिकता र विचारको खडेरीले समस्या सिर्जना गर्‍यो ।
रोशनी केसी, कलाकार/निर्मात्री

राजनीतिक संस्कार, आचरण तथा इमान्दारिताको कमी देखियो । पावर र पैसाको घमन्ड तथा स्वार्थअनुकूल चलखेल गर्न सक्ने अवस्थाका कारणले यस्तो अवस्था आएको हो ।
राजन लम्साल, सञ्चारकर्मी

सानाले ठूलाको सिक्ने हो । जब भोक लाग्छ, खाली हुन्छ भुँडी, रित्तो हुन्छ भाँडा, मान्छे भोक अनि अभावमा हुन्छन् गतिछाडा ।
विल्सनविक्रम राई, अभिनेता

पार्टीहरूमा बलियो भएको गुटबन्दीका आडमा जिम्मेवारीबाट हटेर मोजमस्तीमा लाग्ने बानीले निम्तिएको समस्या हो यो । आडम्बरी तथा लालचीहरूमा कानुनभन्दा बलियो छु भन्ने अहम् मौलाएकाले पनि गतिछाडापन देखियो ।
रूपक डोटेल, गायक

दलाल तथा माफियाहरूसँगको उठबसले गर्दा ।
रमेश कँडेल, साहित्यकार

राजनीतिमा होमिएका ‘क’ देखि ‘ज्ञ’ दर्जासम्मका नेताहरू पूर्ण रूपले म–म भन्ने रोगले ग्रसित हुनु नै यो दुर्दसाको प्रमुख कारण हो । उनीहरूलाई जनताको डर हुँदै नहुनु, अन्धभक्त झोले कार्यकर्ता हुनु, मातृभूमिप्रति उत्तरदायित्वविहीन हुनु तथा नैतिक रूपले पतित हुनु नै गतिछाडा हुनुको मुख्य कारण हो ।
फुपू तेन्जिङ शेर्पा, प्रबन्ध निर्देशक, आईआईएफटी स्कुल अफ फेसन

हामी जनताका कारण नै साना तथा ठूला नेता गतिछाडा हुँदै गएका छन् । नेताहरूले जे गर्दा पनि ताली बजाउने हाम्रो प्रवृत्तिलाई नै म यसको कारण मान्छु । तालीको सट्टा गाली दिने हो भने केही सुधार हुन्थ्यो कि ?
आरसी कोइराला, संस्थापक अध्यक्ष, एभरेस्ट नेपाल कल्चर ग्रुप

अध्ययन र चिन्तनको महाखडेरी लागेर गतिछाडा भएका हुन् । कानुनको लामो हात आफ्नै भएको मानेकाले विधिको शासनलाई लोप्पा ख्वाउँदैछन् । अध्ययन एवं चिन्तनको कमीका कारण पनि यस्तो स्थिति उत्पन्न भएको हो ।
ऋषिराम अधिकारी, सिइओ, किताब यात्रा

सोझा साझा जनतालाई झुक्याउने बानी परिसकेपछि, जति पनि लाज पचाउन सक्ने भएका छन् अनि शक्ति र धनको मोहले गर्दा गतिछाडा हुँदै गएका छन् ।
सत्यराज चौलागाईं, निर्देशक

सोच, क्षमता, योग्यता एवं व्यक्तित्व नपुगी पैसा, नाता र पावरका बलमा नेता भएर दम्भ बढेकाले यस्तो स्थिति उत्पन्न भएको हो ।
श्याम श्रेष्ठ, निर्माता

आध्यात्मिक चेतनाको कमी तथा नैतिक शिक्षाको अभावका कारण नेताहरू गतिछाडा भए । आध्यात्मिक दिवालियापनका कारण नेताहरू भौतिकवादी भए । इन्द्रियहरूको मोहमायाबाट बाहिर निस्कन नसकेर नै नेताहरू गति छाडा हुन पुगे । हामीसँग अपराध तथा भ्रष्टाचार विरोधी घटना एवं विसंगतिका विरूद्ध कडा कानुन छ, तर कानुनको सुस्त कार्यान्वयनका कारण नेताहरू आफ्ना गल्तीका बाबजुद नडराई हिँडिरहेका छन् ।
रोजा बस्नेत, सञ्चारकर्मी

कानुनको शासन पूर्ण रूपमा लागू नहुनुले समस्या देखियो ।
त्रिलोक राणा, गायक

नेपालमा सबैका निम्ति एकसमान कानुन नभएकाले शक्तिशालीहरू गतिछाडा भए ।
सम्झना उप्रेती रौनियार, निर्देशक

केहीलाई छोडेर, बाँकी सबैले यो देश उहाँहरूकै आशमा परेको र नेपालको लालपुर्जामा आफ्नै फोटो छ भन्ठानेर पो हो कि ?
निर्मल शर्मा, कलाकार

राजा, महाराज तथा युवराजधिराज बन्ने दम्भले हो । पदीय दायित्वको दुरुपयोग तथा भ्रष्ट आचरणबाट आर्जित भएको पैसाको दम्भले गर्दा ।
छविरमण सिलवाल, साहित्यकार

सपनाको अन्त्य भएपछि सबैले गति छाड्ने हुन् ।
चेतन सापकोटा, गायक/संगीतकार

उनीहरूलाई आफ््नो दायित्व देश र जनताका लागि काम गर्ने हो र राम्रो काम गर्ने मान्छे मात्र हिरो हुन्छ भन्ने कुरा महसुस नभएर हो ।
सरोज प्याकुरेल, संगीतकार

हाम्रो राजनीतिमा सदाचार, आदर्श तथा नैतिक शिक्षाको अभाव छ । कानुन एवं अनुशासन बुझ्नुपर्नेहरू नै आफूलाई कानुनभन्दा माथि मान्छन् । शक्ति, पद र पैसाको उन्मादका कारण जे गर्न पनि सकिन्छ भन्ने अभिमान उनीहरूमा छ । पार्टीहरूले नेता तथा कार्यकर्तालाई कस्तो बन्ने ? के–के गर्ने ? के–के नगर्ने ? के गरे कारबाही हुन्छ ? के गरे पुरस्कृत भइन्छ जस्ता कुरामा स्कुलिङ गरेका छैनन् । जति ठूलो गल्ती गरे पनि त्यसलाई राजनीतिकरण गर्ने र शक्तिको बलमा दण्ड सजाय नगर्ने प्रवृत्तिले गर्दा एकपछि अर्को घटना घटिरहेका छन् ।
डा. रवीन्द्र समीर, लेखक/जनस्वास्थ्य विज्ञ

नेतामा राजनीतिक संस्कार देखिएन, त्यसकारण ।
राजु केसी, चलचित्रकर्मी

साना ठूला सबै नेताको मति बिग्रँदै गएर गति छोडेका हुन् । मति सुधार गर्न साना नेता हुँदा नै गतिलो शिक्षा नीति अपनाउनुपर्छ । नत्रभने हाम्रो देशको विकास शब्दमा मात्र सीमित हुन्छ ।
योजना पुरी, गायिका

Page 10
संगीत

पाँच करोड भ्युजका पाँच गीत

- साप्ताहिक संवाददाता

विश्वव्यापी रूपमै गीतको लोकप्रियताको मापन गर्ने सजिलो माध्यम भएको छ– यूट्युब । नेपालमा पनि यूट्युबलाई नै गीतको लोकप्रियताको आधार मान्न थालिएको छ । कुन गीतको भिडियो कति पटक हेरियो, कतिवटा लाइक अथवा डिसलाइक पायो तथा कतिवटा कमेन्ट आयो भन्ने कुराले गीतको लोकप्रियताको मापन हुन थालेको छ । कुनै बेला एउटा नेपाली गीत एक करोड पटक हेरियो भने चर्चाको विषय हुन्थ्यो । अहिले औसत गीतले नै सहजै एक करोड भ्युज प्राप्त गर्न थालेका छन् । यूट्युबमा पाँच करोडभन्दा बढी पटक हेरिएका पाँचवटा नेपाली गीत :


१. कुटुमा कुटु

चलचित्र : दुई रुपैयाँ
संगीतकार : राजनराज शिवाकोटी
गीतकार : राजनराज शिवाकोटी
स्वर : राजनराज शिवाकोटी तथा मेलिना राई
भ्यूज : ११ करोड ३६ लाख
कोरियोग्राफर : कविराज गहतराज


२. नाच फिरीरी

गायक : महेश काफ्ले तथा मेलिना राई
संगीतकार : महेश काफ्ले
गीतकार : महेश काफ्ले
भ्युज : ५ करोड ३२ लाख
निर्देशक : निश्चल बस्नेत

३. गोजीमा दाम छैन

स्वर : राजनराज शिवाकोटी, मेलिना राई तथा गृष्मा शिवाकोटी
संगीतकार : राजनराज शिवकोटी
गीतकार : हरिहर तिमिल्सिना
कोरियोग्राफर : प्रविण सिंह
भ्युज : ५ करोड ३१ लाख

४.सालको पातको टपरी

स्वर : कुलेन्द्र विश्वकर्मा तथा विष्णु माझी
संगीतकार : वसन्त थापा
गीतकार : नवराज पन्त
भ्यूज : ५ करोड २६ लाख
निर्देशक : शिव बिक


५. पिरिम नलाउने

स्वर : आशिष सचिन तथा मेलिना राई
संगीतकार : दीपक शर्मा
गीतकार : दीपक शर्मा
निर्देशक : सुव्रत आचार्य
भ्युज : ५ करोड १० लाख

संगीत

नेपालमै छठ गीत

- साप्ताहिक संवाददाता

छठ पर्वको अवसरमा भारतीय गायक–गायिकाहरूका गीतमात्र बजाइने गरिएकोमा यो वर्ष नेपालमै दुई भिन्न कलाकारले दुई वटा छठ गीत सार्वजनिक गरेका छन् । सप्तरीकी गायिका अञ्जु यादवको स्वर तथा अभिनेत्री डोली सरकारको अभिनयको ‘दियौं आशिष हे छठी मैयाँ’ तथा द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका शान्दि सदाको स्वरमा ‘छठी मैयाँके रे महिमा’ शीर्षकका दुई गीत एकै दिन सार्वजनिक गरिएका हुन् । यी दुवै गीतका म्युजिक भिडियोसमेत छठकै अवसर पारेर यूट्युबमार्फत सार्वजनिक भएका छन् ।

संगीत

सप्तरंगको रौनक

- साप्ताहिक संवाददाता

लोकप्रिय कलाकारहरूको एउटा समूह ‘सप्तरंग–२’ शीर्षकको सांस्कृतिक कार्यक्रममार्फत देशका सातै प्रदेशको यात्रामा सहभागि भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको यो कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपूत तथा रवि ओड, गायिका मेलिना राई तथा अभिनेता जितु नेपाल सहभागी छन् । गत बुधबार बिर्तामोडबाट प्रारम्भ भएको यो कार्यक्रम आज शुक्रबार वीरगन्ज, पर्सि आइतबार चितवन, मंगलबार नेपालगन्ज, बिहीबार सुर्खेत, शनिबार महेन्द्रनगर तथा मंसिर ४ गते बुधबार पोखरा पुगेर सम्पन्न हुनेछ ।

संगीत

खरेललाई सम्मान

- साप्ताहिक संवाददाता

विन्ध्यवासिनी म्युजिक फाउन्डेसनले काठमाडौंमा एउटा विशेष सांगीतिक समारोह आयोजित गर्दै संगीतकर्मी तथा स्रष्टाहरूलाई सम्मान अर्पण गरेको छ भने दसौं विन्ध्यवासिनी म्युजिक एवार्ड–२०७६ को मनोनयन सूची पनि सार्वजनिक गरेको छ । विन्ध्यवासिनी संगीत साँझ तथा सम्मान कार्यक्रम चार दशकभन्दा लामो समयदेखि चार सयभन्दा बढी गीत गाएर नेपाली संगीतको क्षेत्रमा योगदान पुर्‍याएका गायक दीपक खरेललाई नगद ५० हजार सहित विन्ध्यवासिनी संगीत साधना सम्मान–२०७६ बाट सम्मानित गरिएको थियो । समारोहमा साढे दुई दशकदेखि नेपाली गीत–संगीतको सेवा गरेबापत संगीतकार एवं गायक हरि लम्साललाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत रजत सम्मान–२०७६ बाट सम्मानित गरियो भने पोखराका सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठलाई १५ हजार रुपैयाँसहित विन्ध्यवासिनी पत्रकारिता सम्मान–२०७६ बाट पुरस्कृत गरियो ।

संगीत

मिलनलाई सास्ती

- साप्ताहिक संवाददाता

गायिका मिलन नेवारलाई अघिल्लो साता एउटा लुटेराले दुःख दिएको छ । फेसबुकमा एउटा स्टाटस लेख्दै गायिका नेवारले अघिल्लो बिहीबार राति घर फर्कने क्रममा कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडि एक अपरिचित व्यक्तिले उनको हातमा भएको मोबाइल तथा ब्याग खोसेर लगेको उल्लेख गरेकी छिन् । ‘मोबाइलसँगै सबैको सम्पर्क नम्बर हरायो, ब्यागमा लाइसेन्स, ब्ल्युबुक, एटीएम कार्ड आदि महत्वपूर्ण कागजात पनि थिए, सबै हराएको अवस्था । कसैले भेट्नु भए नजिकको प्रहरी कार्यालय अथवा मलाई फेसबुकमा जानकारी दिनुहोला, मिलनले लेखेकी छिन्— ‘अरु भन्दा पनि धेरै आफन्तको नम्बर अनि लाइसेन्स र ब्ल्युबुक अत्यन्तै जरुरी कुरा हो । कृपया जसले यो कार्य गरेको हो, अरु कुरा लगेर मोबाइल, लाईसेन्स, ब्लु बुक तथा एटीएम कार्ड सुरक्षित रुपमा कुनै माध्यमद्वारा उपलब्ध गराई दिनुहोला ।’

Page 11
सामाजिक सञ्जाल

सामाजिक सञ्जाल

- साप्ताहिक संवाददाता


हिमालको काखमा : अन्नपूर्ण बेसक्यापमा पुगेपछि अभिनेत्री वर्षा राउत ।


वीरगन्जमा गोविन्दा : बलिउड अभिनेता गोविन्दा श्रीमती सुनीता तथा नेपाली अभिनेत्री निरुता सिंहसहित वीरगन्जमा आयोजना भैरहेको चलचित्र महोत्सवमा सहभागिता जनाउन नेपाल आएका छन् ।


नयाँ घर : बूढानीलकण्ठ, काठमाडौंस्थित आफ्नो नयाँ घरमा युवा क्रिकेटर सन्दीप लामिछाने ।


यात्राको तयारी : मुम्बईबाट लामो यात्राको थालनी गर्दै अभिनेत्री मनीषा कोइराला ।



पिएमज्यूको दोस्रो किड्नी ट्रान्सप्लान्ट अगावै मन्त्रिपरिषद्मा फेरबदल, राजदूतदेखि संवैधानिक अंगमा नियुक्ति, नयाँ मुख्य सचिव बनाउने देखिका सबै नियुक्ति, बढुवा, सरुवा जस्ता काम सकेर ५–६ महिना आनन्दले सिरक ओढेर सुत्ने छाँट देखियो ।
अनिल गिरी

सामाजिक सञ्जाल

कस्ता मित्र बनाउँदा सही होला ?

- साप्ताहिक संवाददाता

- रचनाले नियम भंग गरोस् तर पनि लाइक ठोक्ने (लेखकहरू नै)
- आँखा चिम्लेर भुरुरु लाइक गर्ने ।
- आफ्नो कमी–कमजोरी औंल्याइदिने ।
- केही नपढी छाप लाइदिने ।
- स्तरीय वा राम्रै रचनामा आँखा चिम्लिने तर सानो गल्तीमा भने दोष देख्ने तर सही सुझाव नदिने ।
- झूटो प्रशंसाको खेती गर्ने ।
- राम्रोलाई भन्दा हाम्रोलाई वाहवाही दिने ।
- तस्बिरमा मात्र लाइक ठोक्ने ।
- कहिले प्रेरणाको शब्द नछर्ने ।
- आफ्नोमा लाइक कमेन्ट गर्दा चैं लाइक गर्ने तर सोहीको रचनामा भने बेवास्ता गर्ने ।
-झुण्डमुण्डलाई मात्र प्राथमिकता दिने ।
- जब मनमा बिझ्यो अनि आएर उफ्रिने
- गाली, ताली, सुझाव दिने र सही विश्लेषण गर्ने ।
- लेखन क्षेत्रमै रुचि नराख्ने ।
- विभिन्न ज्ञान गुणका खुराकहरू बाँड्ने ।
- सबैलाई न्यायको आँखाले हेर्ने ।
- फेसबुकको महत्व बुझ्ने ।
- महिलालाई मात्र प्राथमिकता दिने ।
- म्यासेन्जरमा अनेकौं कुरा पठाइरहने ।
- कोही नचिनेको नै किन नहोस् उसका स्टाटसका भावहरू बुझेर साथी बनाउने ।

आचार्य प्रभा

सामाजिक सञ्जाल

ट्रेन्डिङमा के–के ?

- साप्ताहिक संवाददाता

युट्युबमा विभिन्न विषयवस्तुमा आधारित नेपाली भिडियोहरू ट्रेन्डिङमा परिरहेका हुन्छन् । यो हप्ता ट्रेन्डिङको दस स्थानसम्म हेर्दा २ नम्बर ट्रेन्डिङमा द भ्वाइस अफ नेपालको २३ औं इपिसोड छ । यो द भ्वाइस अफ नेपालको नकआउट चरण हो । १ नोभेम्बरमा अपलोड भएको उक्त भिडियोले मंगलबारसम्म २२ लाख भ्युज पाएको छ । द भ्वाइस अफ नेपाल अर्को चरणदेखि लाइभ सोमा जाँदैछ ।ओएसआर डिजिटल युट्युब च्यानलबाट अपलोड भएको हास्यटेलिश्रृंखला ‘सक्किगो नि’ युट्युब ट्रेन्डिङको ३ नम्बरमा छ । उक्त भिडियोले मंगलबारसम्म २१ लाखभन्दा बढी भ्युज पाएको छ । चर्चित हास्य टेलिश्रृंखला भद्रगोलबाट छुट्टिएको जिग्री–पाँडे समूहले निर्माण गरेको सक्किगोनीले तीव्र गतिमा लोकप्रियता हासिल गरेको छ । यो साता ट्रेन्डिङको तेस्रो स्थानमा आएको सक्किगो निको सातौं भाग हो ।
युट्युबको ५ नम्बर ट्रेन्डिङमा ‘मेरा बिहे भएका बहिनीलाई मेरो बूढाले मुखमा आएको सबै गाली गर्छ, दिदी रुँदै मिडियामा’ शीर्षकको भिडियो परेको छ । यस्तै, युट्युबको ६ नम्बरमा ब्रिजेश श्रेष्ठको डल्ली बोलको गीत छ । नेस स्टुडियो युट्युब च्यानलबाट अपलोड भएको ९ दिनभित्र यो भिडियोले १० लाखभन्दा बढी भ्युज पाएको छ ।
चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सैको ६२६ भाग युट्युब ट्रेन्डिङको ८ औं नम्बरमा छ । मेरी बास्सैको यो भाग तिहार विशेष छ । मिडिया हब अफिसियल च्यानलबाट अपलोड भएको उक्त भिडियोले मंगलबारसम्म १४ लाखभन्दा बढी भ्युज पाएको छ ।
युट्युब ट्रेन्डिङको ९ नम्बरमा योगेश काजी एवं सारिका घिमिरेको ‘हेल्लो’ गीतको भिडियो छ । एकनारायण भण्डारीको शब्दको उक्त भिडियोमा आश्मा विश्वकर्मा तथा सरोज अधिकारीले अभिनय गरेका छन् । यो भिडियोलाई मंगलबारसम्म युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ ।

Page 12
टेलिभिजन

कहाँ पुगे रियालिटी शो

- साप्ताहिक संवाददाता

गत कात्तिक ८ गते आईएमई नेपाल लोकस्टारको पहिलो सिजन सम्पन्न भएसँगै रोल्पाका शनी विश्वकर्मा पहिलो आईएमई नेपाल लोकस्टार घोषित भए । पहिलो लोकस्टार भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँ पुरस्कार जिते । आईएमई नेपाल लोकस्टारको फाइनलमा शनीसँगै रामकुमार नेपाली, विनोद दनुवार, चेतन गोतामे पुगेका थिए । प्रतियोगिताको फस्ट रनर्सअप चेतन गोतामे भए भने विनोद दनुवार सेकेन्ड रनर्सअप घोषित भए ।

यस्तै अर्को रियालिटी शो द भ्वाइस अफ नेपाल यतिबेला हिमालयन टेलिभिजनमार्फत प्रसारण भैरहेको छ । गत हप्ता नकआउट चरण सम्पन्न गरेको यो प्रतिस्पर्धा आज शुक्रबारदेखि लाइभ शो सुरु हुँदैछ । यहाँसम्म आइपुग्दा द भ्वाइस अफ नेपालमा १२ प्रतियोगी बाँकी छन् । लाइभ शोमा यिनै १२ प्रतियोगीले प्रत्यक्ष प्रस्तुति दिनेछन्, त्यसपछि दर्शकको मतका आधारमा उनीहरूको यात्रा अघि बढ्ने द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । गत शनिबारसम्म २४ इपिसोड सम्पन्न भएको द भ्वाइसले अब ८ इपिसोड लाइभ शो प्रसारण गर्नेछ भने नवौं इपिसोड द भ्वाइस अफ नेपालको फाइनल हुने निर्देशक पौडेलले बताए । यो रियालिटी शोको फाइनल १४ डिसेम्बरमा हुने बताइएको छ । गत वर्ष द भ्वाइस अफ नेपालको फाइनल कतारमा सम्पन्न भएको थियो, तर यसपालि भने नेपालमै गर्ने तयारी भैरहेको पौडेलले जनकारी दिए ।

स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ प्रसारणको तयारीमा छ । यो रियालिटी शो डिजिटल अडिसन हुँदै फिजिकल अडिसनबाट छानिएका २४ प्रतियोगीलाई लिएर प्रसारणमा जाँदैछ । कान्तिपुर टेलिभिजनबाट सोमबार र मंगलबार राति ९ देखि १० बजेसम्म प्रसारण हुने यो रियालिटी शो कहिलेदेखि प्रसारणमा आउँछ भन्ने कुरा तय भैनसकेको च्याम्पियनका निर्देशक विशाल भण्डारीले बताए । ढिलोमा मंसिरको पहिलो हप्ता प्रसारणमा जान्छौं– उनले भने । कमेडी च्याम्यिनको डिजिटल अडिसनमा २२ सय प्रतियोगी सहभागी थिए, जसबाट जजहरूले १ सय २० जनालाई फिजिकल अडिसनका लागि बोलाए । फिजिकल अडिसनबाट छानिएका टप २४ को छायांकन गत मंगलबार र बुधबार सम्पन्न गरिएको भण्डारीले बताए । कमेडी च्याम्पियनमा ऋचा शर्मा, सन्तोष पन्त, मनोज गजुरेल तथा प्रदीप भट्टराई निर्णायक छन् । च्याम्पियन विजेताले २५ लाख रुपैयाँ नगद तथा २५ लाख रुपैयाँ बराबरको गाडी पुरस्कार पाउने बताइएको छ ।

गायन रियालिटी शो नेपाल आइडलको तेस्रो श्रृङ्खला प्रसारणको अन्तिम तयारीमा छ । एपिवान एचडी टेलिभिजनमार्फत प्रसारणमा आउन लागेको नेपाल आइडलले विभिन्न सहरमा ओपन अडिसन सम्पन्न गरिसकेको छ । ओपन अडिसनबाट ३ सयभन्दा बढी प्रतियोगी छानिएका छन् । गत सोमबारदेखि यिनै प्रतियोगीको जज अडिसनको छायाँकन सुरु भएको छ । यो अडिसन एक हप्तासम्म चल्ने प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार जज अडिसन सकिएपछि टेलिभिजनमा प्रसारणका लागि आउने मिति तय हुनेछ । पौडेल भन्छन्, ‘सकेसम्म मंसिर ५ गते विश्व टेलिभिजन दिवसको दिन प्रसारणमा जाने योजनामा छौं ।’

ह्याप्पी बर्थ डे

ह्यापी बर्थ डे

- साप्ताहिक संवाददाता

अभिनेत्री दीपिका प्रसाईको जन्मदिन आज शुक्रबार हो । चलचित्र ऐश्वर्यबाट चलचित्र क्षेत्रमा पाइला चालेकी प्रसाई छोटो समयमै सबैको ध्यान तान्न सफल अभिनेत्रीका रूपमा चिनिन्छिन् । त्यस्तै अभिनेता आकाश श्रेष्ठले गत मंगलबार जन्मदिन मनाए । गायक प्रमोद खरेलले अघिल्लो बुधबार जन्मदिन मनाएका थिए भने भ्वाइस अफ नेपालका होस्ट सुशील नेपालको जन्मदिन अघिल्लो बिहीबार परेको थियो । आ–आफ्नो क्षेत्रमा ख्याति कमाउन सफल यी सेलेब्रेटीलाई उनीहरूका साथीभाइ तथा सहकर्मीहरूले साप्ताहिकमार्फत दिएको शुभकामना :

दीपिका मलाई असाध्यै सोझी कलाकार लाग्छिन् । हरेक कुरालाई सीधा तरिकाले सोच्ने उनको बानी छ । उनको र मेरो भेट चलचित्र छक्कापञ्जा–३ का क्रममा भएको थियो । त्यसबीच नै हो मैले उनलाई राम्रोसँग चिनेको । उनी आफ्नो काममा लगनशील छिन् । मलाई उनी कामप्रति बफादार तथा मेहनती कलाकार लाग्छिन् । चलचित्रका लागि राम्रोसँग समय दिन सक्छिन् । त्यसबाहेक अरू कुरालाई पनि ध्यानमा राखेर अघि बढ्न सक्ने क्षमता उनमा छ । दीपिका चलचित्रमा काम गर्ने मामिलामा चुजी छिन् । चलचित्रमा लामो समयसम्म काम गर्ने हो भने उनले आफ्नो नृत्यमा चाहिँ थप निखार ल्याउन जरुरी छ ।
जितु नेपाल, हास्यकलाकार

मलाई आकाश निकै सोझो तथा ज्ञानी लाग्छ । ऊ अरूजस्तो फटाहा र छुच्चो छैन । उसमा आफूसँग नजिक हुने सबैलाई माया र केयर गर्ने बानी छ । आकाशसँग मेरो डेढ वर्षअघि चलचित्र रामकहानीको सुटिङका क्रममा भेट भएको थियो । उक्त चलचित्र धेरैले मन पनि पराइदिनुभयो । मलाई उसको काम गर्ने तथा बोल्ने शैली सबैभन्दा बढी मन पर्छ । नम्र तरिकाले मीठो स्वरमा बोल्ने आकाशले जो–कसैलाई छिट्टै प्रभावित तुल्याउन सक्छ । छोटो समयमै उसले धेरै प्रगति गरेको छ । यसरी नै सधैं उन्नति हुँदै जाओस्, अझ राम्रा–राम्रा चलचित्रमा काम गरेको देख्न पाइयोस्— आकाशलाई जन्मदिनको शुभकामना ।
पूजा शर्मा, अभिनेत्री

प्रमोद खरेल आफ्नो समयको आफ्नो विधाको सफल कलाकार हुनुहुन्छ । मलाई दाइको गीत–संगीतका बारेमा भन्ने केही ठाउँ छ जस्तो लाग्दैन । उहाँसँग मेरो पहिलो भेट भूकम्प गएको वर्ष (२०७२ साल) भएको थियो । त्यतिबेला हामी भूकम्प पीडितहरूलाई सहयोग गर्ने उद्देश्य एकमहिने युरोप भ्रमणका क्रममा सँगै थियौं । त्यस क्रममा उहाँबाट संगीतका बारेमा धेरै कुरा सिक्ने अवसर मिल्यो । सुरुमा भेट्नेहरूले उहाँलाई घमन्डी स्वभावको भन्न सक्छन् तर उहाँ मन सफा भएको दयालु व्यक्ति हुनुहुन्छ । अहिले भ्वाइस अफ नेपालमा पनि उहाँ अग्रजका हिसाबले धेरै नजानेका कुरा सिकाउनुहुन्छ । उहाँ केही गर्न खोज्ने, सिक्न खोज्ने मानिसलाई ऊर्जा, साथ, सहयोग तथा हौसला प्रदान गर्ने खालको हुनुहुन्छ । सानोमा बाबाले क्यासेट किनिदिएपछि उहाँको गीत सुन्ने म आज जजको हैसियतले उहाँसँग मञ्च सेयर गर्न पाउँदा गर्वको अनुभूति गर्छु ।
आस्था राउत, गायिका

सुशील नेपाल मेरा अत्यन्त निकट मित्र हुन् । हामीले विगत दुई दशकदेखि एक–अर्कासँग सहयात्रा–सहकार्य गर्दै आएका छौं । त्यसैले हामी एक–अर्कासँग धेरै नै नजिक छौं । उनी मिलनसार तथा सहयोगी भावना भएका मानिस हुन् । मलाई उनको व्यक्तित्व सबैभन्दा बढी मन पर्छ । उनी सधैं जवान मात्र देखिन्छन्, त्यसैले जहिल्लै जवान कसरी देखिन सकिन्छ भन्ने उनको अनौठो कला हामी साथीभाइलाई पनि सिकाइदिए हुने नि । सुशीलको जन्मदिनका अवसरमा म उनको दीर्घायु एवं सफलताको कामना गर्छु ।
विनोद सिंह, मोडल तथा इभेन्ट म्यानेजर

Page 14
विकेन्ड लाइभ

फरेनहाइटमा परिक्रमा

- साप्ताहिक संवाददाता

आज शुक्रबार नेपाली युवा माझ चर्चित परिक्रमा ब्यान्डले सांगीतिक प्रस्तुति दिँदैछ । भारतको यो ब्यान्डले काठमाडौंको ठमेलस्थित फरेनहाइट क्लबमा धेरै समयपछि कन्सर्ट गर्न लागेको हो । ब्यान्डले आफ्ना पुराना लोकप्रिय गीतहरूका साथै केही समयअघि बजारमा आएको द टियर अफ विजार्ड गीतहरू प्रस्तुत गर्ने बताइएको छ । साँझ ७ बजे प्रारम्भ हुने यो कन्सर्ट बिहान ३ बजेसम्म चल्नेछ । कार्यक्रममा प्रवेश गर्न ३ सयदेखि १ हजारसम्मको टिकट काट्नुपर्नेछ, जसमा निःशुल्क बियर उपलब्ध गराउने आयोजकले जनाएको छ ।

विकेन्ड नाइट मार्केट

स्ट्यारी नाइट

- साप्ताहिक संवाददाता

खानासँगै संगीतको पनि आनन्द लिन चाहनुहुन्छ भने स्ट्यारी नाइट तपाईंको रोजाइमा पर्न सक्छ । आज शुक्रबार लाजिम्पाट स्थित तारे होटल सांग्रिलाले स्ट्यारी नाइटको आयोजना गर्दैछ जसमा बीबीक्युसँगै टाटु ब्यान्डले लाइभ प्रस्तुति दिनेछ । सांग्रिलाको लस्ट होरिजन क्याफेमा सञ्चालन हुने उक्त कार्यक्रम साँझ ७ बजे प्रारम्भ हुनेछ । यो इभेन्टमा सहभागी हुन प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।


विकेन्ड कमेडी

इंग्लिस कमेडी

- साप्ताहिक संवाददाता

अष्ट्रेलियन स्ट्यान्ड अप कमेडीयन ब्रेन्डन बन्स भोलि शनिबार ठमेलमा प्रस्तुत हुँदैछन् । ब्रेन्डनले ठमेलको हाउस अफ म्युजिकमा आफ्नो प्रस्तुतिमार्फत नेपालीहरूलाई हँसाउन लागेका हुन् । बेलायतमा स्ट्यान्ड अप कमेडी गर्दै आएका ब्र्रेन्डन नेपाली कमेडियन क्लब कमेडी टुकटुक तथा हाउस अफ म्युजिकको निमन्त्रणामा नेपाल आउन लागेको बताइन्छ । ४८ वर्षिय यी अष्ट्रेलियन नागरिक आफ्ना आक्रामक तथा आपत्तिजनक प्रस्तुतिका कारण प्रख्यात छन् । ब्रेन्डनको मुख्य भुमिकामा सञ्चालन हुने उक्त कार्यक्रममा नेपाली कमेडीयन योजना मगर तथा आसन भण्डारीले पनि साथ दिनेछन् । साँझ ८ बजे प्रारम्भ हुने कार्यक्रम राति ११ बजेसम्म चल्ने बताइएको छ । यो कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति ४ सय रुपैयाँ तिर्नुपर्नेछ ।

विकेन्ड फुड

जाडोमा च्याङ्ग्राको स्वाद

- साप्ताहिक संवाददाता

मासुका पारखीहरूका लागि जाडोमा च्याङ्ग्राको मासु प्रमुख रोजाइ हुनसक्छ । हिमाली भेगका जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका च्याङ्ग्राको मासु स्वास्थ्यका दृष्टिकोणले पनि उपयुक्त मानिन्छ । च्याङ्ग्राको मासुमा खसीको मासुको तुलनामा कम बोसो हुन्छ । सरकारले दसैंका अवसरमा हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याएर काठमाडौंमा सर्वसाधारणलाई बिक्री गर्दै आएको छ जसका कारण मनसुनी मासुका रूपमा च्याङ्ग्राको मासुको चर्चा दसैं–तिहारताका मात्र हुन्छ । यद्यपि अहिले सडक, सञ्चारजस्ता सुविधाका कारण पारखीहरूले च्याङ्ग्राको मासु खान दसैं वा तिहार नै पर्खनु पर्दैन ।
अहिले व्यवसायीहरूले यसलाई दसैं–तिहार बाहेक अरू बेला पनि काठमाडौंमै उपलब्ध गराउँछन् । केही रेस्टुराँको मेनुमा पनि च्याङ्ग्राको सुकुटी लोकप्रिय परिकार सावित हुन पुगेको छ । काठमाडौंमा खुलेका धेरैजसो थकाली रेस्टुराँको मेनुमा च्याङ्ग्राको सुकुटी समावेश हुन्छ । पेप्सीकोला, नख्खु तथा भक्तपुरमा मासु बेच्दै आएको उदयपुरे मासु पसलका सञ्चालक रमेश कार्की आफूहरूले विशेष गरी असोज–कात्तिकको चाडपर्वको मौसममा बढी च्याङ्ग्राको मासु बेच्ने कुरा बताउँछन् । ‘त्यसबाहेक हामीले असोजदेखि माघसम्म र वैशाखमा पनि च्याङ्ग्राको मासु बिक्री गरिरहेका छौं,’ कार्की भन्छन् । कार्कीले सिंनामंगलस्थित लेकाली किचन एन्ड कटिया हाउस, पेप्सिकोला तथा लोकन्थलीस्थित मटन स्टेसन आदि रेस्टुराँमा च्याङ्ग्राको मासु सप्लाई गर्दै आएको जानकारी दिए ।
कोटेश्वरस्थित कर्णाली मासु पसलले पनि च्याङ्ग्राको मासु बेच्दै आएको छ । उक्त मासु पसलले जिउँदो र काटेको दुवै किसिमको च्याङ्ग्रा उपलब्ध गराउँछ । कर्णाली र उदयपुरे मात्र होइन, काठमाडौंका अन्य कतिपय मासु पसलले पनि च्याङ्ग्राको मासुको ब्यापार गर्दै आएका छन् । उनीहरूले जुम्ला, हुम्ला, मनाङ, मुस्ताङ, रसुवा आदि हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याउँछन् । व्यवसायीहरूका अनुसार च्याङ्ग्राको मासु सिजनमा प्रतिकिलो १८ सयसम्म पुग्छ । अहिले भने च्याङ्ग्राको मासु १४ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भैरहेको छ ।

 

Page 15
समीक्षा

खेल नमिलेको बादशाह जुट

- साप्ताहिक संवाददाता

जुट भन्नासाथ अधिकांशको दिमागमा तासको सम्झना आउँछ । तासको कतिपय खेलमा जुटको विशेष महत्व हुन्छ । जुटको महत्व राम्रो हुँदाहुँदै पनि त्यसको सदुपयोग गर्न सकिएन भने त्यो खेल खेलाडीका लागि फिका नै हुन्छ । गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘बादशाह जुट’ हेर्दा खेलाडी भएर पनि नमिलेको खेलझैं लाग्छ । निर्देशक जोनी सिंह राणाको ‘डेब्यू’ निर्देशनको यो चलचित्रमा उनले अनुभवी कलाकारहरूलाई खेलाडीका रूपमा छाने पनि ती खेलाडीलाई सही रूपमा खेलाउन सकेका छैनन् । चलचित्रमा अभिनेताद्वय आमिर गौतम तथा सुशील श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।
चलचित्रको कथा आमिर र सुशीलको बाल्यकालबाट सुरु हुन्छ । तासका सौखिन श्याम सुन्दर खड्का(आमिर) र रामचन्द्र कटुवाल(सुशील) जहिल्यै बहाना बनाएर कक्षाबाट बाहिरिन्छन् । एकदिन फलास खेल्ने क्रममा दुवैलाई बादशाह जुट आउँछ । छोराहरूले तास खेलेको थाहा पाएपछि उनका बुवाले दुवैको कान समातेर आइन्दादेखि तास नखेल्न चेतावनी दिन्छन् । उनले दुवैलाई राम्रो काम गरेर तासको बादशाह नभई वास्तविक बादशाह बन्न सुझाव दिन्छन् ।
वयस्क भएपछि आमिर प्रहरी र सुशील पत्रकार हुन्छन् । श्यामसुन्दर गैरकानुनी काम गर्नेलाई पक्रेर आफूलाई बादशाहका रूपमा चिनाउन चाहन्छन् भने रामचन्द्र चाहिँ ‘एक्सक्लुसीभ’ समाचार दिएर च्यानलको टीआरपीसँगै आफ्नो साख बढाउन चाहन्छन् । एकदिन श्यामसुन्दरले आइएसआइका लडाकुहरूले प्रशिक्षण लिइरहेको देख्छन् र रामचन्द्रलाई ‘एक्सक्लुसीभ’ समाचार भन्दै बोलाउँछन्, तर त्यही प्रशिक्षणका कारण दुवैको जागिर जान्छ अर्थात् उक्त प्रशिक्षणका प्रशिक्षक नै गृहमन्त्रीका छोरा हुन्छन् । यो घटनाले रामचन्द्र र श्यामसुन्दरबीच फाटो ल्याउँछ ।
कथा अघि बढ्ने क्रममा रामचन्द्र र श्यामसुन्दरको जीवनमा प्रिया र मुना नामका दुई युवतीको आगमन हुन्छ । दुवै युवती आफ्नो साथी निशाको हत्याको बदला लिने युवाको खोजीमा हुन्छन् । प्रिया र मुनाले निशाको हत्या व्यापारी जयनन्द शाहले गरेको बताएपछि रामचन्द्र र श्यामसुन्दर जयनन्दलाई मारेर जयनन्द प्रतिको प्रिया र मुनासँगै आम मानिसको त्रास हटाउने अभियानमा लाग्छन् ।
चलचित्रको कथा अनुसार कलाकारले केही हदसम्म अभिनय गरेका छन्, तर निर्देशकले जति गराउन सक्नुपर्थ्यो त्यति गराउन सकेका छैनन् । चलचित्रको सांगीतिक पक्ष औसत छ । यो चलचित्रमा कमेडी फ्लेभर मिसाउन खोजिए पनि त्यसले दर्शकलाई खासै हसाउँदैन ।
चलचित्रमा प्रशस्तै कमजोरी छन् । बाल्यकालमा प्रिया, निशा र मुना एक अनाथाश्रममा बसेका हुन्छन् । श्यामसुन्दर र रामचन्द्रले गुगलमा सर्च गरेर उक्त अनाथाश्रम खोज्छन् । यो दृश्य अनौठो लाग्छ । चलचित्रमा एक्सनलाई प्राथमिकता दिइए पनि प्रमुख पात्र आमिरले कुद्दै बन्दुक चलाएको दृश्य असुहाउँदिलो छ । प्रिया र मुनालाई एकछिन भेटेका श्यामसुन्दर र रामचन्द्र अर्को दृश्यमा उनीहरूसँगै ओछ्यानमा भेटिन्छन् जुन अपत्यारिलो लाग्छ । प्रहरी र पत्रकारिता पेशाबाट निकालिएपछि बेरोजगार भएका श्यामसुन्दर र रामचन्द्र अर्पाटमेन्टमा बसेको देखाइएको छ जुन असम्भवझैं लाग्छ । बेरोजगार भए पनि उनीहरू विलासी जीवन बिताउँछन् जबकि उनीहरूको कुनै आयस्रोत हुँदैन । चलचित्रलाई मनोरन्जनसँगै सन्देशको माध्यमका रूपमा पनि लिइन्छ । दर्शकले कुनै पनि चलचित्रमा यी दुवै कुरा पाएनन् भने त्यो चलचित्र हेरेको अर्थ पनि रहँदैन ।

समीक्षा

फोरममा कल्पना र उर्मिला दुःखमा छन्

- साप्ताहिक संवाददाता

देशभर दसैंको रौनक चलिरहँदा शिल्पी थिएटरका नाट्यकर्मी घिमिरे युवराज दसैंको टीका लगाइसकेपछि कलाकारको एक समूह लिएर नेपालको पूर्वदेखि पश्चिमसम्मको यात्रामा निस्किए । ब्राजिलका कहलिएका नाटक निर्देशक अगस्टो बोआलद्वारा करिब ५० वर्षदेखि अभ्यासमा ल्याइएको ‘फोरम थिएटर’को अवधारणालाई अघि सार्दै युवराजको टोली झन्डै एक महिना नेपाल यात्रामा रह्यो । आरोहण गुरुकुल तथा एमएस नेपाल नामक संस्था मिलेर १९ वर्षअघि नेपाल भित्र्याइएको ‘फोरम थिएटर’को अवधारणालाई युवराजको टोलीले सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा, बर्दिया, महेन्द्रनगर, सुनसरी तथा मोरङमा नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ मा प्रस्तुत गर्‍यो । पूर्वको मोरङमा आगामी कात्तिक २४ गते नाटक मञ्चनपछि उनीहरूको यात्राको समापन हुनेछ ।
निर्देशक युवराज यो नाटक तीन कारणले दर्शकका लागि महत्वपूर्ण रहेको दाबी गर्छन् । ‘यो नाटकमा घरेलु हिंसा, बालविवाहका साथै जाँडरक्सी एवं जुवातासको समस्या देखाएका छौं । समुदायमा व्याप्त यी समस्यालाई समुदायकै अगाडि देखाएर समुदायबाटै समाधानका लागि पहल गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो’, युवराज भन्छन्, ‘नाटकको मञ्चनपछि दर्शक, निर्वाचित जनप्रतिनिधि तथा प्रहरी– प्रशासनबीच नाटकका विषयमा बहस गर्छौं । नाटकमा देखाइएका समस्यालाई जनप्रतिनिधि एवं प्रहरीले कसरी समाधान गर्न सक्छन् भन्ने विषयमा छलफल चलाउँछौं ।’
हामी पहाड र तराईका भित्री स्थानमा गैरहेका छौं । त्यहाँका दर्शकका लागि नाटक हेर्नु आफैंमा मनोरन्जन कुरा हो’, घिमिरेले बताए, ‘त्यसबाहेक पनि नाटक हेर्न आएका दर्शकहरू बोल्ने गरेका छन् । जस्तै बालविवाहकै विषयमा १५ वर्ष, १६ वर्षमा विवाह भएका, बच्चाबच्ची भएका महिलाहरू मायाप्रेमको लहैलहैमा लागेर बिहे गरियो, अहिले दुःख पाइयो भनेर आफ्नो व्यथा सेयर गर्छन् । धेरैको मागी होइन, भागी बिहे भएको रहेछ ती ठाउँमा । स्कुल पढ्दा मन पराएर विवाह गरेका रहेछन् । विवाह गरेपछि श्रीमान् विदेश जाने, चार पाँच वर्षपछि घर फर्कंदा आपसी दूरीका कारण सम्बन्ध बिग्रिएका घटनाहरू पीडितहरूले बताएका छन् ।’
युवराजका अनुसार बर्दियामा ‘भल्भन्सा’ बस्दो रहेछ । परम्परागत रूपमा बस्दै आएको समुदायले सिर्जना गरेको निर्णय गर्ने समूह रहेछ । यो सरकारी निकाय होइन । ‘अहिले पनि कतिपय समस्या भल्भन्साले नै मिलाइदिँदो रहेछ । बलात्कार, घरेलु हिंसा, कुटपिटजस्ता कुरामा प्रहरीले चासो दिँदो रहेछ, तर स–साना कुरामा चाहिँ भल्भन्सा नै प्रयोग हुँदोरहेछ । यो विषयमा पनि बहस भयो’, युवराजले भने । एउटा जिल्लाका चार स्थानमा नाटक देखाइने भए पनि रोल्पामा भने पाँच स्थानमा नाटक देखाइएको उनले बताए ।
युवराजका अनुसार नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ मा विवाह गरेको केही महिनामै बिदेसिएका हर्कबहादुर दुई वर्षसम्म नफर्कंदा उनकी श्रीमती कल्पना गाउँमा कसरी बसेकी छिन् ? अभावमा बाँचेकी कल्पनालाई खाना, नाना र बस्ने घरले मात्र पुग्छ कि उनलाई लोग्ने पनि चाहिन्छ ? विदेशमा दुःख खेपिरहेका हर्कलाई आफ्नो गाउँ, बाबुआमा र श्रीमती छोडेर वर्षौं टाढा बस्दा कस्तो भैरहेको होला ? छोराछोरीको सम्झना कति आउला ? श्रीमतीका बारेमा उनी के सोच्दा हुन् ? श्रीमान् श्रीमतीबीचको शंका कसरी कम गर्ने ? बिदेसिएका लोग्नेमानिसका श्रीमतीहरूलाई कति सहज–असहज छ गाउँघरमा ? के छोरीहरूले पढ्ने चाहना राखे भने पढ्न पाउँछन् ? स्कुलमा पढ्दापढ्दै किन बालविवाह गर्छन् किशोरकिशोरीहरू ? १६ वर्षकी उर्मिला १७ वर्षको गोपुसँग किन भागेर गई ? सानै उमेरमा विवाह
गर्दा वा बच्चा जन्माउँदा के–कस्ता समस्या आइलाग्छन् ? जस्ता कुरा देखाइएका छन् ।
यो नाटकमा मञ्जु श्रेष्ठ, पवित्रा खड्का, संगीता उराव, स्मारिका फूयाल, नम्रता अर्याल, सविन कट्टेल, झकेन्द्र बीसी, मानहाङ लावती, रविन परियार, गोविन्द ओली, ज्याक बराल तथा हिमाल भुजेलको अभिनय छ ।

चलचित्र

जीवन काँडा कि फूल

- साप्ताहिक संवाददाता

धनकुटाकी साहित्यकार झमककुमारी घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ यसै साता प्रदर्शनमा आउँदैछ । विनोद विष्टको निर्माण तथा निर्देशनमा बनेको यो चलचित्रले साहित्यकार घिमिरेको जीवनकथा प्रस्तुत गर्नेछ । चलचित्रको अधिकांश दृश्य धनकुटास्थित झमककुमारीको घरमा छायांकन गरिएको छ ।

विनोद विष्ट, निर्माता तथा निर्देशक
भारतको सिलिगुडीबाट प्रकाशित हुने पत्रिका हिमालय दर्पणमा दार्जीलिङकी साहित्यकार विन्दिया सुब्बाले झमककुमारी घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ पढेर उनलाई भेट्न धनकुटा गएको विषयमा लेख लेख्नुभएको थियो । उक्त लेख पढेपछि पुस्तकमा त्यस्तो के रहेछ र उहाँ धनकुटा जानुभयो भन्ने लागेर मैले पुस्तक किनेर दुई–तीन पटक पढेपछि झमककुमारीको संघर्ष थाहा पाएँ । पुस्तक दोहोर्‍याएर पढ्दा पनि विश्वास नलागेपछि म आफैं झमकजीलाई भेट्न धनकुटा पुगें । उक्त पुस्तक पढेपछि त्यसको कथामा फिल्म बनाउने इच्छा जागेको थियो ।

उमा बेबी, अभिनेत्री
चलचित्रमा म झमककी आमाको भूमिकामा छु । एउटी स्रष्टाको बायोपिकमा उनकी आमाको भूमिकामा अभिनय गर्न पाउँदा खुसी लागेको छ । यो चलचित्रमा काम गर्दा झन्डै ३५ वर्षअघिको गेटअपमा प्रस्तुत हुन निकै गाह्रो भएको थियो । चलचित्रमा तीनवटा उमेरको भूमिकामा प्रस्तुत हुनुपर्ने भएकाले त्यो काम चुनौतीपूर्ण नै थियो । झमककी आमाले कति दुःख पाएकी थिइन् भन्ने कुरा दर्शकले मेरो चरित्रबाट थाहा पाउनुहुनेछ ।

सारिका घिमिरे, अभिनेत्री
चलचित्रमा मैले झमककी बहिनीको भूमिकामा अभिनय गरेकी छु । झमककुमारीका बारेमा मैले सानै उमेरमा वृत्तचित्रमार्फत जानकारी पाएकी थिएँ । त्यतिबेला उनी केटा होलान् जस्तो लागेको थियो । आफू ठूलो भएपछि मात्र मैले उनी केटी हुन् भन्ने कुरा थाहा पाएँ । मैले झमकको घरमै बसेर उनकी बहिनीले के के काम गरेकी थिइन् भन्ने जानकारी लिएँ । अहिलेसम्म मैले अभिनय गरेका चलचित्रको तुलनामा यो चलचित्रमा दर्शकले केही फरकपन पाउनुहुनेछ ।

Page 18
मनोरञ्जन

प्रेममा परिन् अदिति

- साप्ताहिक संवाददाता

अभिनेत्री तथा मोडल अदिति बुढाथोकी लामो समयदेखि मुम्बईमा छिन् । नेपाली चलचित्र ‘कृ’ की यी अभिनेत्रीले यो अवधिमा केही हिन्दी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । अदितिको बलिउड चलचित्रमा प्रवेश गर्ने संघर्ष भने आजका मितिसम्म जारी नै छ । यसबीच यी अभिनेत्रीले इन्स्टाग्राममार्फत आफू प्रेममा परेको जानकारी घुमाउरो शैलीमा दिएकी छिन् । गत शनिबार इन्स्टाग्राममा एउटा तस्बिर सार्वजनिक गर्दै अदितिले भारतीय र्‍यापर अलिम मोरानीसँग प्रेममा रमाइरहेको संकेत गरेकी हुन् । मोरानीसँग समुद्री किनारको सुन्दर लोकेसनमा खिचिएको उक्त तस्बिरसहित अदितिले प्रेमको इमोजी राखेर ‘गुड टाइम्स’ भन्ने क्याप्सन लेखेकी छिन् । तस्बिरमा अदितिले आफ्नो दाहिने हात गायक मोरानीको तिघ्रामा राखेकी छिन् भने मोरानीले आफ्नो देब्रे हातले अदितिको कम्मर समाएका छन् । तस्बिरमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । अदितिले आफ्नो प्रेमीसँगको उक्त तस्बिर सार्वजनिक गरेलगत्तै धेरैले उनीहरूलाई बधाई दिएका छन् । तस्बिरमा प्राप्त प्रतिक्रियामा उनीहरूको जोडी सुहाएको कुरा उल्लेख गरिएको छ । र्‍यापर मोरानीले इन्स्टाग्राममा आफूलाई र्‍यापर, गीतकार तथा ड्रमरका रूपमा चिनाएका छन् । उनले अघिल्लो वर्ष पहिलो र्‍याप गीत लेट मि लाइभ...सार्वजनिक गरेका थिए, जसले युट्युबमा राम्रो दर्शक पाएको थियो ।

 

मनोरञ्जन

ऋचाको ब्याचलर्स पार्टी

- साप्ताहिक संवाददाता

अभिनेत्री ऋचा शर्माले निकट भविष्यमै विवाह गर्ने निर्णय गरेकी छिन् । गत साता पोखरामा आफ्ना नजिकका साथीहरूलाई ‘ब्याचलर पार्टी’ दिँदै उनले आउँदो मंसिर महिनामै विवाह गर्ने संकेत दिएकी हुन् । उक्त पार्टीमा सेतो पहिरनमा सजिएकी ऋचाले ‘ब्राइड टु बी’ (हुनेवाला दुलही) अंकित स्यास लगाएकी थिइन् । सेतो रंगको पहिरन ड्रेस कोड तोकिएको उक्त पार्टीमा ऋचासँग उनका नजिकका दुई अभिनेत्री केकी अधिकारी तथा प्रियंका कार्कीलाई रमाइलो गरिरहेको देख्न सकिन्छ । प्रियंकाले आफ्नो इन्स्टाग्राममा उक्त पार्टीका रमाइला तस्बिर तथा भिडियो क्लिप्सहरू सार्वजनिक गरेकी छिन् । पार्टीमा सहभागिता जनाउन गत शुक्रबार हवाई यात्रा गर्दै उनीहरू पोखरा पुगेका थिए । ऋचाले विवाह गर्ने व्यक्तिको नाम सार्वजनिक नगरे पनि उनी लामो समयदेखि दिपेक्ष्य राणासँगको प्रेम सम्बन्धमा रहेको बताइँदै आएको छ । राणा लबिम मलका म्यानेजर हुन् ।

मनोरञ्जन

फिल्मी खबर

- साप्ताहिक संवाददाता

- तीन वर्षअघि नै निर्माण भएको सुरक्षा पन्त तथा स्वरुपपुरुष ढकालद्वारा अभिनित चलचित्र ‘सुस्केरा’ पुस १८ गते प्रदर्शनमा आउनेछ ।
- रामबाबु गुरुङद्वारा निर्देशित सिताराम कट्टेल तथा कुञ्जना घिमिरेको पहिलो चलचित्र ‘सेन्टी भाइसर’ ले आफ्नो फस्ट लूक पोस्टरसंगै फागुन ९ गतेलाई प्रदर्शन मिति तोकेको छ ।
- अभिनेता दयाहाङ राईले छाडेको चलचित्र ‘लप्पन छप्पन–२’ को भूमिकामा अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ अनुबन्धित भएका छन् ।
- सुनिल गुरुङ निर्देशित अभिनेता सौगात मल्लको पछिल्लो चलचित्र ‘माछा माछा’ मंसिर २० गतेदेखि प्रदर्शनमा आउनेछ ।
- चलचित्र ‘मिस्टर नेपाली’ लाई नेपाल प्रदर्शनअघि अमेरिकाका यसै साता प्रिमियर गरिने निर्माता प्रेमराज दाहालले बताएका छन् ।
- प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको दीपकराज गिरीको चलचित्र ‘छ माया छपक्कै’ अस्ट्रेलियापछि अमेरिकामा पनि प्रदर्शन हुन थालेको छ ।
- अभिनेता सुनिल थापाले सलमान खान प्रोडक्सनको चलचित्र ‘क्वाथा’ मा अभिनय गर्ने निश्चित भएको छ, जसमा उनले भारतको मणिपुर राज्यका एक मुखियाको भूमिका निर्वाह गर्नेछन् ।
- हिजो बिहिबारदेखि वीरगन्जमा प्रारम्भ भएको तीन दिने नेपाल चलचित्र स्वर्णिम महोत्सवमा नेपाली कलाकारहरूसँगै बलिउड अभिनेता गोविन्दाले पनि आफ्नो विशेष प्रस्तुति दिने भएका छन् ।
- मंसिर २७ गते प्रदर्शनमा आउने जोन योञ्जनद्वारा निर्देशित चलचित्र ‘१२ सत्ताइस’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । यो चलचित्रमा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने आदि कलाकारले अभिनय गरेका छन् ।

ब्याक बाइटस्

रोजिता निकै सोझी छिन्

- साप्ताहिक संवाददाता

साहित्यकार झमक घिमिरेद्वारा लेखिएको पुस्तक ‘जीवन काँडा कि फूल’ मा झमकको भूमिका निर्वाह गर्ने कलाकार रोजिना बुद्धाचार्य हुन् भने झमकको बुवाको भूमिका निर्वाह गर्ने कलाकार हुन्– किशन सुनार । थुप्रै चलचित्रमा अभिनेताका रूपमा काम गरिसकेका अभिनेता किशन सुनारले यो चलचित्रमा झमकको बुवाको भूमिकालाई चुनौतीपूर्ण भनेका छन् । चलचित्रको छायांकनका क्रममा आफूसहित रोजिताले समेत प्रसस्त मेहनत गरेको कुरा सम्झँदै अभिनेता सुनारले अभिनेत्री बुद्धाचार्यका सकारात्मक तथा सुधार्नुपर्ने पक्षहरूलाई यसरी उजागर गरेका छन् :


सकारात्मक पक्ष
लगनशील
थिएटर आर्टिस्टका रूपमा अभिनय यात्रा प्रारम्भ गरेकी रोजिताको कामप्रतिको लगनशीलता लोभलाग्दो छ ।
सम्मानको भावना
आफूभन्दा ठूला व्यक्तिलाई कसरी सम्मान गर्नुपर्छ भन्ने कुरा बुझेकी एउटी कलाकारका रूपमा मैले उनलाई चिन्ने मौका पाएँ ।

समयको महत्व
उनले समयको महत्व निकै राम्रोसँग बुझेकी छिन् । समयमा आफूलाई दिइएको काम कसरी सम्पन्न गर्नुपर्छ भन्ने कलामा उनीसँग छ ।
अध्ययनशील
उनी निकै अध्ययनशील छिन् । मलाई उनको यो बानी असाध्यै मन पर्छ । यसबाहेक उनमा एक प्रतिशत पनि घमण्ड छैन, यो उनको अर्को राम्रो पक्ष हो ।

सुधार्नुपर्ने पक्ष
उदासीपन
छायांकनको अवधिभर मैले उनलाई प्रायः उदास नै देखें । उनी आफ्नो यो उदासीपनबाट माथि उठ्नु जरुरी छ ।
व्यस्तता
अति नै व्यस्त रहँदा कतिपय काम बिग्रन्छ भन्ने कुरा उनले विस्तारै बुझ्दै गएकी छिन् ।
चरित्रमा डुब्ने
छायांकनपछि पनि मैले उनलाई चलचित्रकै चरित्रमा डुबिरहेको पाएँ । त्यस्तो बानीले आफैंलाई एक्लो महसुस गराउँछ ।
सोझी
उनी आवश्यकताभन्दा बढी नै सोझी छिन् । चलचित्रमा करियर बनाउने हो भने आफ्नो यस्तो सुधोपनमा केही सुधार ल्याउनैपर्छ ।

 

Page 19
मनोरञ्जन

फ्लप क्लबमा साम्राज्ञी

- साप्ताहिक संवाददाता

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पछिल्लो फ्लप चलचित्र र उनको व्यक्तिगत गतिविधिलाई नियाल्ने हो भने उनको स्टारडम ओरालो लागेको प्रस्ट बुझ्न सकिन्छ । चलचित्र ड्रिम्सबाट अभिनय यात्रा सुरु गरेकी शाहका पछिल्ला दुई चलचित्रले आशालाई निराशामा बदलेका छन् । दसैंभन्दा अघि लगातार प्रदर्शनमा आएका दुई चलचित्र ‘मारुनी’ र ‘रातो टिका निधारमा’ फ्लप साबित भए । विगतका वर्षहरूमा साम्राज्ञीका अधिकांश चलचित्र हिट मानिन्थे । यद्यपि यो वर्ष लगातार चलचित्र फ्लप हुनुलाई कतिपयले सामाजिक सञ्जालमा साम्राज्ञीको हर्कतलाई जिम्मेवार मानेका छन् ।

मनोरञ्जन

सुमीको हैरानी

- साप्ताहिक संवाददाता

मोडलिङबाट चलचित्रमा आएकी नयाँ अनुहार हुन् सुमी मोक्तान । मिस तामाङको उपाधि विजेता मोक्तान चलचित्र सरौतोमार्फत रजतपटमा पदार्पण गर्दैछिन् । एक्सनप्रधान उक्त चलचित्रमा सुमी केन्द्रीय भूमिकामा छिन् । चलचित्रको सार्वजनिक ट्रेलरबाटै सुमीले चलचित्रमा कतिसम्म डरलाग्दा स्टन्टहरू दिएकी छिन् भन्ने अनुमान गर्न सकिन्छ । सबै कुरा पूर्व निर्धारित रूपमा अघि बढेको भए सुमीको पहिलो चलचित्र आज शुक्रबार प्रदर्शनमा आउनुपर्ने थियो । यद्यपि आज निश्चल बस्नेतको घामड शेरे प्रदर्शन हुने भएपछि सरौतोले आफ्नो प्रदर्शन मिति एक सातापछि सार्दै कात्तिक २९ को मिति तोकेको थियो । उक्त मितिमा समेत सौगात मल्लको चलचित्र ‘माछा माछा’ प्रदर्शन हुने भएपछि हरि हुमागाईंद्वारा निर्देशित सरौता अझै दुई सातापछि धकेलिएर मंसिर १३ मा पुगेको छ । उक्त मितिमा समेत अभिनेता सुशील श्रेष्ठको ‘लभ डायरिज’ प्रदर्शन हुने हल्ला चलेपछि अभिनेत्री मोक्तानको प्रतिक्षाको समय लम्बिँदै गएको हो । तिहार अघिसम्म निकै उत्साहित देखिएकी सुमी आफ्नो पहिलो चलचित्रको प्रदर्शन मिति एकपछि अर्को साता सरेपछि चिन्तित देखिन थालेकी छिन् । ‘दुःख गरेर काम गरेको चलचित्र प्रदर्शन गर्ने बेलामा कत्तिको हैरानी खेप्नुपर्ने रहेछ भन्ने कुरा बल्ल बुझ्दैछु, सुमीले आफ्नो हैरानी व्यक्त गर्दै पटक–पटक प्रदर्शन मिति परिवर्तन हुँदा दर्शकहरूमा यो चलचित्रप्रतिको चासो घट्ने पो हो कि भन्ने डर समेत उत्तिकै रहेको बताएकी छिन् ।

मनोरञ्जन

चल्ला त भुवनको जादू ?

- साप्ताहिक संवाददाता

अभिनेता भुवन केसी लामो समयपछि अभिनयमार्फत दर्शकमाझ फर्कंदै छन् । पछिल्ला केही वर्ष चलचित्रको निर्माणमा व्यस्त भएर केही राम्रा चलचित्र दिइसकेका अभिनेता केसी यतिबेला आफ्नै दोहोरो भूमिका भएको चलचित्र ‘मिस्टर नेपाली’ को प्रदर्शनको पर्खाइमा छन् । आफ्नो ब्यानरभन्दा बाहिरका चलचित्रमा अभिनय गर्न खासै नरुचाउने भुवनले निर्माता–निर्देशकसँगको पुरानो सम्बन्धका कारण उक्त चलचित्रमा अभिनय गरेको यसअघि नै बताइसकेका छन् । यो चलचित्रमा उनले खलनायकदेखि नायकसम्मको भूमिका निर्वाह गरेका छन् । चलचित्रको हालै सार्वजनिक ट्रेलरमा भुवनलाई दुई भिन्न रूपमा प्रस्तुत गरिएको छ । यो चलचित्रमा उनले बुवा र छोराको भूमिकाका अभिनय गरेको अनुमान लगाउन सकिन्छ । चलचित्र मिस्टर नेपालीमा छोरा भुवनलाई अभिनेत्री रीमा विश्वकर्माले जोडीका रूपमा साथ दिएकी छिन् भने यसमा बुवा भुवनको भूमिका सशक्त रहेको बताइन्छ । ‘लामो समयपछि अभिनयमा फर्किएकाले केही नौलो पनि लागिरहेको छ, अभिनेता केसीको भनाइ छ— ‘यद्यपि, मैले राम्रो दिने प्रयास गरेको छु । मिस्टर नेपालीलाई सफल बनाउने जिम्मा दर्शकहरूकै हातमा छ ।’

मनोरञ्जन

मनपर्छ /पर्दैन

- साप्ताहिक संवाददाता
एलिशा राई, मोडल 

जाडोको के मनपर्छ, के मन पर्दैन ?
मन पर्छ
खानेकुरा मीठो हुन्छ ।
रोजाइ अनुसारको पहिरन लगाउन पाइन्छ ।
मौसम खुलेको हुन्छ ।
हिउँ मन पर्छ ।
जाडोमा सिरक ओढेर मुभी हेर्दै कफी पिउन निकै मज्जा आउँछ ।

मन पर्दैन
बिहान सबेरै उठ्न सकिँदैन
काम गर्न गाह्रो हुन्छ ।
अल्छी लाग्छ ।
सुटिङ गर्न गाह्रो हुन्छ ।
छाला फुस्रो हुन्छ ।

Page 20
हलिउड/बलिउड

बक्स अफिस

- साप्ताहिक संवाददाता

- गत शुक्रबार बलिउडमा एकमात्र चलचित्र उजडा चमन प्रदर्शनमा आयो । आयुष्मान खुरानाको अपकमिङ चलचित्र बालासँग कथाको प्लट जुधेको आरोप लागेको यो चलचित्रले राम्रै व्यापार गर्ने अपेक्षा गरिएको थियो । यद्यपि त्यसको ठीक विपरीत चलचित्रले पहिलो विकेन्डमा १० करोडजतिको मात्र व्यापार गरेर निर्माताहरूको अपेक्षामाथि तुषारापात गरेको छ । त्यसो त यो चलचित्रको कुल बजेट नै १५ करोड मात्र हो ।
- अघिल्लो शुक्रबार प्रदर्शित दुई चलचित्र हाउसफूल–४ ले भने निर्माताहरूको गोजी भरिदिएको छ । २ अर्ब जति लगानी भएको यो चलचित्रले दोस्रो विकेन्डसम्ममा सवा २ अर्ब बराबरको कारोबार गरेर आफूलाई सफल चलचित्रको श्रेणीमा उकासिसकेको छ । उता हाउसफूल–४ सँगै प्रदर्शन भएको साँढकी आँख भने समीक्षकहरूको समर्थनका बावजुद नराम्रोसँग डुबेको छ । ४५ करोड लगानी गरिएको यो चलचित्रले दोस्रो विकेन्डसम्ममा २५ करोड मात्र उठाउन सकेको छ ।
- हलिउडमा पछिल्ला दुई शुक्रबार चलचित्र जोकरको व्यापारका कारण कुनै चलचित्र प्रदर्शनमा आएनन् । कात्तिक १ गते शुक्रबार प्रदर्शित चलचित्र मेल फिसेन्टः मिस्ट्रेस अफ एभिलले भने तेस्रो वीकेन्डसम्ममा १ करोड ९३ लाख ६९ हजार ८ सय डलर बराबरको कारोबार गरेर निर्माताहरूलाई अलिकति भए पनि राहत दिएको छ ।

 

बलिउड

काजलको चाहना

- साप्ताहिक संवाददाता

दक्षिण भारतीय चलचित्रकी स्थापित अभिनेत्री काजल अग्रवालले यतिबेला विवाहको योजना बनाइरहेकी छिन् । यसबीच आफूभन्दा दोब्बरभन्दा बढी उमेरका अभिनेता कमल हसनसँग चलचित्र इन्डियन–२ को छायांकनमा व्यस्त अग्रवालले आफ्ना भावी श्रीमान्मा के–कस्ता खुबी हुनुपर्छ भन्ने कुरा सार्वजनिक गरेकी छिन् । काजलका अनुसार उनको श्रीमान्मा आध्यात्मिक स्वभाव, केयरिङ गर्न सक्ने क्षमता तथा उनका बारेमा आवश्यकताभन्दा बढी चासो राख्न सक्ने गुण हुनुपर्ने कुरा बताएकी छिन् । यो कुरासँगै कागजले आफ्नो श्रीमान् चलचित्र उद्योगसँग असम्बन्धित हुनुपर्ने शर्त समेत राखेकी छिन् । स्मरणीय छ, हिन्दी चलचित्रमा अपेक्षाकृत सफलता प्राप्त नगरेपछि काजल दक्षिण भारतीय चलचित्रतर्फ लागेकी थिइन् । त्यहाँ उनले नाम र दाम दुवै कमाइन् । अहिले उनी इन्डियन–२ मार्फत् फेरि हिन्दी चलचित्रमा देखा पर्न लागेकी हुन् । इन्डियन–२ सन् १९९६ मा प्रदर्शित सफल चलचित्र इन्डियनकै सिक्वेल हो ।

बलिउड

कियाराको दिन फर्कियो

- साप्ताहिक संवाददाता

 

कुनै बेला चलचित्रमा स–साना भूमिकाका लागि पनि कसैले नपत्याएकी कियारा आडवाणीको दिन फर्किएजस्तो छ । विगत ५ वर्षदेखि बलिउडमा संघर्ष गरिरहेकी कियारा अभिनित चलचित्र कविर सिंहको सफलतापछि यतिबेला बलिउडका ठूला निर्माता तथा निर्देशकहरू कियारालाई आफ्नो चलचित्रमा मुख्य भूमिकामै हेर्न चाहन्छन् । त्यसैले पनि यतिबेला कियाराको हातमा थुप्रै चलचित्र छन् । तीमध्ये पाँचवटा चलचित्र लगालग प्रदर्शन हुने क्रममा छन् । कियारा अभिनीत गुड न्यूज आगामी डिसेम्बरमा सार्वजनिक हुँदैछ भने त्यसको केही समयपछि लक्ष्मी बाम्ब (मे), इन्दुकी जवानी (५ जून), भुलभुलैया–२ (जुलाई) तथा शेरशाह छन् । यी सबै चलचित्र ठूला ब्यानरका तथा सुपरस्टार कहलिएका अभिनेताहरूको भएकाले कियारा आफ्नो भविष्यप्रति ढुक्क भएको बताइन्छ ।

हलिउड/बलिउड

एभेन्जर द इन्डगेमलाई अलटाइम एवार्ड

- साप्ताहिक संवाददाता

गत आइतबार लस एन्जल्सको बेवर्ली हिल्समा वितरण गरिएको २३ औं हलिउड फिल्म एवार्ड समारोहमा यो वर्षको सर्वाधिक सफल चलचित्र एभेन्जर द इन्डगेमलाई ब्लकबुस्टर एवार्ड प्रदान गरिएको छ । यो एवार्ड उक्त चलचित्रलाई चलचित्र इतिहासमै सर्वाधिक आम्दानी गर्ने चलचित्रको श्रेणीअन्तर्गत प्रदान गरिएको हो । उक्त समारोहमा चार्लिज थेरोनलाई हलिउड करियर एचिभमेन्ट एवार्ड प्रदान गरिएको थियो भने हलिउड एक्टरको एवार्ड पेन एन्ड ग्लोरी चलचित्रका लागि एन्टेनियो ब्यान्डरसलाई तथा हलिउड एक्ट्रेसको एवार्ड जुडी गार्लेन्डको बायोपिकमा आधारित चलचित्र जुडीका लागि रेनी जेल्बेगरलाई प्रदान गरिएको थियो । यसैगरी सपोर्टिङ हलिउड एक्टरको एवार्ड द आइरिस म्यानका लागि अल पचिनोलाई तथा सपोर्टिङ हलिउड एक्ट्रेसको एवार्ड म्यारिज स्टोरीका लागि लाउरा डर्नलाई प्रदान गरिएको छ ।

 

Page 21
हलिउड

केटी पेरीविरुद्ध मुद्दा

- साप्ताहिक संवाददाता

तीन वर्ष पुरानो एउटा तस्बिर सेयर गरेको विषयमा हलिउड नायिका तथा गायिका केटी पेरीविरुद्ध सेलिब्रिटी न्यूज एजेन्सी ब्याक ग्रिडले क्यालिफोर्नियाको एक जिल्ला अदालतमा १ लाख ५० हजार डलर माग दावी गर्दै कपिराइट कानुनको उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको छ । सन् २०१६ को एक हलोविन पार्टीमा केटी पेरीले तत्कालीन अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको जस्तो मेकअप तथा गेटअपमा तस्बिर खिचाएकी थिइन् । उक्त तस्बिरलाई केटी पेरीले आफ्नो इन्स्टाग्राममा 'Bill and 4EVA' क्याप्सनसहित अपलोड गरेकी थिइन् । केटी पेरीको उक्त कामले अमेरिकी संघीय कानुनअन्तर्गतको कपिराइट कानुन उल्लंघन भएको दाबी गर्दै अहिले आएर ब्याक ग्रिडले मुद्दा दायर गरेको हो । उक्त तस्बिर केटी पेरीको इन्स्टाग्राममा अझै पनि छ । इन्स्टाग्राममा केटी पेरीका ८ करोड ६२ लाखभन्दा बढी फलोअर छन् ।

हलिउड

कमल हासनको ६० वर्ष

- साप्ताहिक संवाददाता

भारतीय चलचित्रका स्थापित अभिनेता कमल हासनको फिल्मी करियरले ६० वर्ष पूरा गरेको अवसरमा हिजो बिहीबारदेखि उनको गृहनगर तमिलनाडुको परमाकुडीमा भव्य उत्सव सञ्चालन भैरहेको छ । भोलि शनिबारसम्म चल्ने यो उत्सवमा तमिल चलचित्रका सुपरस्टार रजनीकान्त पनि उपस्थित छन् । उक्त अवसरमा कमल हासनले आफ्ना गुरु के. बालाचन्द्रनको मूर्तिको अनावरणसमेत गराउँदै छन् । स्मरणीय छ, सन् १९६० मा प्रदर्शित तमिल चलचित्र कलाथुर कन्नम्मामा बाल कलाकारका रूपमा अभिनय गरेका कमल हासनले उक्त भूमिकाका लागि राष्ट्रपति पदकसमेत प्राप्त गरेका थिए । कमल हासनले तमिल, कन्नड, तेलुगु, मलयालम, अंग्रेजी तथा हिन्दी भाषाका गरी २ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । भारतीय चलचित्र उद्योगका कुनै पनि कलाकारको अभिनय जीवनमा यस्तो कार्यक्रम आयोजित गरिएको यो नै पहिलो अवसर भएको बताइन्छ ।

हलिउड

समाचार

- साप्ताहिक संवाददाता

- सन् १७६१ मा मराठा र अफगान सेनाबीच भएको पानीपतको तेस्रो लडाइँमा आधारित चलचित्र पानीपतको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सञ्जय दत्त, अर्जुन कपुर तथा कृति सेननलाई देखाइएको छ । यो चलचित्रमा सञ्जय दत्तले अफगान सेनापति अहमद शाह अब्दाली तथा अर्जुन कपुरले मराठा सेनापति सदाशिवराव भाउको भूमिका निर्वाह गरेका छन् ।

- कार्तिक आर्यन, अनन्या पाण्डे तथा भूमि पेडनेकर अभिनित चलचित्र पति, पत्नी और वहको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा कार्तिक आर्यन श्रीमान्को र भूमि पेडनेकर श्रीमतीको भूमिकामा छन् भने अनन्या पाण्डे प्रेमिकाको भूमिकामा छिन् ।
- उजडा चमनसँग कथा मिलेको आरोप खेप्दै आएको चलचित्र बालाको ट्रेलर सार्वजनिक भए लगत्तै यो चलचित्रमाथि कथा चोरेको आरोप लागेको छ । बालामाथि चलचित्र निर्माता नमन गोयल र निर्देशक कमलकान्त चन्द्राले आफ्नो चलचित्र द बिगिनिङ टु गेट बेल्डको कथा चोरेको आरोप लगाएका हुन् ।


- सन् १९९४ मा सार्वजनिक प्रदर्शनमा आएको अन्दाज अपना–अपनाले प्रदर्शनको २५ वर्ष पूरा गरेको अवसरमा उक्त चलचित्रकी नायिका करिश्मा कपुरले सामाजिक सञ्जालमार्फत एक तस्बिर सार्वजनिक गर्दै उक्त चलचित्रको स्मरण गराएकी छिन् ।
- कुनै बेलाकी शालिन अभिनेत्री जरिना वहाब फेरि चलचित्रमा फर्कने भएकी छिन् । जरिनाले सलमान खानको अपकमिङ चलचित्र राधेमा आमाको भूमिका निर्वाह गर्ने बताइएको छ ।

- भोजपुरी चलचित्रका मेगा स्टार रवि किशनकी छोरी रिवाको पहिलो हिन्दी चलचित्र सब शुभ मंगलको पोस्टर सार्वजनिक भएको छ । यो चलचित्र सन् २०२० को पहिलो शुक्रबार प्रदर्शनमा आउने बताइन्छ । चलचित्रमा रिवासँग अक्षय खन्ना तथा प्रियांक शर्माले स्क्रीन सेयर गरेका छन् ।

 

हलिउड

सस्पेन्समा क्लाइमेक्स

- साप्ताहिक संवाददाता

अप्रिल २०२० मा सार्वजनिक हुन लागेको जेम्स बाण्ड सिरिजको २५ औं चलचित्र नो टाइम टु डाईको क्लाइमेक्सका विषयमा थरीथरीका समाचार सार्वजनिक भैरहेका छन् भने ती समाचारले विवादसमेत सिर्जना गरेका छन् । यस्तो विवाद उक्त चलचित्रको क्लाइमेक्सलाई निर्देशक केरी फुकुनावाले तीन अलग–अलग सन्दर्भमा सुटिङ गराएपछि सिर्जना भएको हो । एक अपहरित वैज्ञानिकलाई रहस्यमय खलपात्रबाट जोगाइएको कथामा आधारित उक्त चलचित्रको क्लाइमेक्सका बारेमा कलाकारहरू पनि अन्यौलमा रहेको अवस्थामा निर्देशक फुकुनावा भने चलचित्रको अलग–अलग क्षेत्रमा हुने प्रदर्शनमा अलग–अलग क्लाइमेक्स राख्ने सोचमा छन् । निर्देशकको यस्तो निर्णयले चलचित्रको विश्वव्यापी प्रदर्शनमा असर पुर्‍याउने चलचित्रका वितरकको आशंका छ ।

 

Page 22
मनोरञ्जन

मिस स्कुबा इन्टरनेसनल

- साप्ताहिक संवाददाता

२४ वर्षीया श्रद्धा सिलवालले मलेसियामा सञ्चालन भैरहेको मिस स्कुबा इन्टरनेसनल–२०१९ मा प्रतिस्पर्धा गरिरहेकी छिन् । लन्डनमा बसोबास गर्दै आएकी श्रद्धाले लन्डनस्थित ब्रुनेल युनिभर्सिटीबाट इन्फर्मेसन सिस्टम्स म्यानेजमेन्ट एजुकेसनमा स्नातकोत्तर गरेकी छिन् । श्रद्धाले गत सेप्टेम्बरमा आरके इन्टरटेनमेन्ट ग्रुपद्वारा सञ्चालित मिस ग्रान्ड नेपाल–२०१९ अन्तर्गत मिस ग्रान्ड स्कुबा नेपाल–२०१९ को उपाधि जितेपछि मिस स्कुबा इन्टरनेसनल–२०१९ मा सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । प्रतियोगिताका लागि श्रद्धाले मलेसियास्थित माबुली टापुमा स्कुबा ड्राइभिङको प्रशिक्षण प्राप्त गरेर ओपन वाटर स्कुबा ड्राइभरको प्रमाणपत्र समेत हासिल गरेकी छिन् ।
आइतबार कात्तिक १७ गतेदेखि ३० गतेसम्म चल्ने मिस स्कुबा इन्टरनेनसल–२०१९ को फाइनल कात्तिक २९ गते हुनेछ । प्रतियोगिताको मुख्य उपाधिका लागि श्रद्धाले विश्वका ४० भन्दा बढी सुन्दरीसित प्रतिस्पर्धा गर्नेछिन् । सफ्टवेयर इन्जिनियर श्रद्धा नृत्य, अध्ययन, भ्रमणका साथै आफ्नो पर्सनल तथा सोसल डेभलपमेन्टमा रुचि राख्छिन् । श्रद्धा स्मल युनिटी फर ह्युमानिटी नामक आफ्नै संस्थामार्फत् बालबालिकाको क्षेत्रमा समेत सक्रिय छिन् ।

मनोरञ्जन

अन्तर्राष्ट्रिय फेसन विक

- साप्ताहिक संवाददाता

इपो फेसन विकमा नेपाली मोडलहरू पनि सहभागी भएका छन् । उक्त फेसन विक हालै मलेसियाको इपो सहरमा सञ्चालन भएको थियो । फेसन विकमा नेपाल सहित चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान तथा सिंगापुरका ४६ जना मोडल र्‍याम्पमा प्रस्तुत भएका थिए । नेपालबाट ५ पुरुष तथा २ महिला मोडल सहभागी भए जसमा अनिल अधिकारी, बाबु सागर गिरी, प्रकाश अधिकारी, पोसन शर्मा, सेरब शेर्पा, हेमा हमाल तथा ज्योति थापा थिए । नेपालका डिजाइनर ज्वाला पोखरेल एवं जय थापाले पनि उक्त फेसन विकमा सहभागिता जनाए । तीन दिन चलेको उक्त फेसन विकको कोरियोग्राफी खालिक मुस्ताफाले गरेका थिए । फेसन विकमा हरेक दिन १२ वटा सिक्वेन्स प्रस्तुत भएको सहभागी मोडल अनिल अधिकारीले जानकारी दिए ।

मनोरञ्जन

मिस्टर एन्ड मिसस्टार चितवन

- साप्ताहिक संवाददाता

क्रिएटिभ इन्साइट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न मिस्टर एन्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे तथा श्रवण श्रेष्ठले जितेका छन् । त्यसैगरी युवतीतर्फ रुपा केसी फस्ट रनर्सअप एवं नवीना अधिकारी सेकेन्ड रनर्सअप तथा पुरुषतर्फ मनोज तामाङ फस्ट रनर्सअप अनि किरण दनुवार सेकेन्ड रनर्सअप घोषित भए । भरतपुरको पानोरोमा गार्डेन रिसोर्टमा शनिबार भएको उक्त ग्रान्ड फिनालेमा १० जनाले प्रवेश पाएका थिए, जसमा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस तथा बेस्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् । उक्त प्रतियोगिताको कोरियोग्राफी अस्मिता नेपालीले गरेकी थिइन् भने कार्यक्रममा हास्यकलाकार तथा जादुगर नमराज पराजुलीको प्रस्तुतिसमेत समेटिएको थियो ।

मनोरञ्जन

आस्था भइन् लिटल कोसी

- अनिल श्रेष्ठ

सुनसरी इनरुवाकी १२ वर्षीया आस्था राजभण्डारी तथा धनकुटाका १४ वर्षीय क्रिस चेम्जुङले मिस्टर एन्ड मिस लिटल कोसी–२०१९ को उपाधि जितेका छन् । आस्था मिस तथा क्रिस मिस्टरतर्फ विजेता घोषित भएका हुन् । जय मिडिया म्यानेजमेन्टको आयोजनामा इटहरीमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको मिसतर्फ विराटनगरकी ७ वर्षीया अग्रिम खतिवडा फस्ट रनर्सअप तथा इनरुवाकी १३ वर्षीया सृष्टि श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए । मिस्टरतर्फ भने इनरुवाका १३ वर्षीय आर्यन कर्ण फस्ट रनर्सअप तथा इनरुवाकै १४ वर्षीय समय सुब्बा सेकेन्ड रनर्सअप भएका थिए ।

 

मनोरञ्जन

कञ्चनलाई उपाधि

- साप्ताहिक संवाददाता

पोखराज टप मोडलको उपाधि कञ्चन भुजेलले जितेकी छिन् । कनेक्ट टु इभेन्टद्वारा आयोजित पहिलो संस्करणको उक्त प्रतियोगितामा सीता पौडेल फस्ट रनर्सअप तथा अनुषा हर्मेल सेकेन्ड रनर्सअप घोषित भए । पोखराज टप मोडलका लागि सिर्जनाचोकस्थित रवि महलमा सञ्चालित फाइनलमा ८ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

मनोरञ्जन

मिसेज इन्टरनेसनल

- साप्ताहिक संवाददाता

विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टिकेएस मिसेज इन्टरनेसनलको १३ औं संस्करणमा नेपालका तर्फबाट स्नेहा लता राउत थापा तथा संगीता न्यौपाने सहभागी हुँदैछन् । सिंगापुर, मलेसिया तथा इन्डोनेसियाका विभिन्न स्थानमा प्रतियोगिताका विभिन्न गतिविधि संचालन हुँदै अन्तिम प्रतिस्पर्धा आज कात्तिक २२ गते शुक्रबार सिंगापुरस्थित अर्किड कन्ट्री क्लबमा हुँदैछ । टिकेएस मिसेज इन्टरनेसनल–२०१९ की सहभागी स्नेहालताले प्रतियोगिताको मिसेज तथा संगीताले एमएस विधामा प्रतिस्पर्धा गर्नेछन् । यो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीहरूको सहभागिताको व्यवस्थापन, संयोजन एवं तयारी रिबन इन्टरटेनमेन्टले गरेको हो ।

मनोरञ्जन

मिस रोयल डिभा

- साप्ताहिक संवाददाता

मिस रोयल डिभा–२०१९ को उपाधि रिया कार्कीले चुमेकी छिन् । पोखरामा शनिबार सम्पन्न फाइनलमा उनले उपाधिसहित मस्ट ब्युटिफुल, बेस्ट स्किन तथा बेस्ट क्याट वाकको सब–टाइटलसमेत आफ्नो पक्षमा पारिन् । हेवन्स प्रोडक्सनले आयोजना गरेको उक्त प्रतियोगितामा सलिना मगर फस्ट रनर्सअप घोषित भइन् भने अर्गनाइजर च्वाइसको पुरस्कार सुनिता पुनले जितिन् । मिस रोयल डिभाका लागि फाइनलमा ८ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

Page 23
पहिलो विश्व

राजकुमारीको नक्कल

- साप्ताहिक संवाददाता

वास्तविक जीवनमा धेरै कम व्यक्ति राजकुमारी हुन पाउँछन्, तर रहरमा जो कसैले आफूलाई राजकुमारी जस्तो बनाउन सक्छन् । यस्तै सोच एरिजोनाकी २३ वर्षीया लार्षा रासोको पनि छ । रासो बेलायतकी युवराज्ञी केट मेडिलटन डचेस अफ क्याब्रिजबाट यति प्रभावित छिन् कि उनले लगाएको जस्तो ड्रेस लगाएर फोटो खिचेर इन्स्टाग्राममा अपलोड गरिहाल्छिन् । कानुनकी विद्यार्थी लार्षाको रहर भनेको केटले गरेको फेसनको जतिसक्दो चाँडो अनुसरण गर्नु हो । आफुले युवराज्ञीजस्तो अन्तर्राष्ट्रिय र महँगो ब्रान्डको पहिरन लगाउन नसक्ने भए पनि उनी त्यस्तै किसिमका पहिरन सस्तो मूल्यमा अनलाइनबाट खरिद गर्छिन् । लार्षाले केटले लगाएको निलमको औंठीजस्तै देखिने औंठी ३ हजार रुपैयाँमा खरिद गरेकी छिन् । केटप्रतिको सद्भावको विषयमा बेलायती राजप्रसाद पनि जानकार छ । उनले युवराज्ञीको नक्कल गरेको विषयमा स्वयं केटको सचिवालयले उनलाई प्रशंसा पत्रसमेत पठाइसकेको छ ।

पहिलो विश्व

फोटो हाल्नैका लागि चुम्बन

- साप्ताहिक संवाददाता

सामान्य व्यक्तिलाई कुनै पनि सामाजिक संजालको प्लेटफर्ममा एकाउन्ट खोलेपछि कति आफ्नो मात्र फोटो हाल्ने भन्ने लाग्छ । आफ्नै फोटोमात्र अपलोड गरेर अपेक्षाअनुरूप फलोअर्स, लाइक, सेयर तथा कमेन्ट बढ्नेवाला पनि छैन । यसका लागि केही नयाँ उपाय त अपनाउनैपर्‍यो, जसले गर्दा आफ्नो एकाउन्टको फलोअर्स र लाइक बढ्नुका साथै अपलोड गरेको फोटोले चर्चा समेत पाओस् । यस्तै सोच बनाएर कोसोभोकी क्रिष्टिना कुक्वीले नयाँ जुक्ति अपनाइन् । ट्विटर चलाउने कुक्वीले विश्वका लोकप्रिय स्थानका प्रतीकहरूका अगाडि नचिनेका पुरुषहरूसँग चुम्बन गरेर फोटो खिच्ने र उक्त फोटोलाई आफ्नो ट्विटर ह्यान्डलबाट अपलोड गर्ने कामलाई निरन्तरता दिन थालिन् । हाल भर्जिनियाको एक विश्वविद्यालयबाट ग्य्राजुएट गरिरहेकी कुक्वीको यो काम धेरैले अनौठो पनि माने । उनको मान्यता के थियो भने विश्वले चिन्ने स्थानमा आफ्नो प्रेम दर्साउने । यसका लागि उनले थुप्रै देशको भ्रमण समेत गरिन् । ट्विटरमा उनको यो कार्यले प्रशंसा पाएपछि अहिले उनले इन्स्टाग्राममार्फत ती तस्बिरलाई पूनः अपलोड गर्न थालेकी छिन् ।


पहिलो विश्व

यो कस्तो नशा ?

- साप्ताहिक संवाददाता

नशा लागू पदार्थको हुन्छ सबैलाई थाहा छ, तर शारीरिक सम्पर्क राख्ने पनि नशा हुन्छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । यस्तै किसिमको नशावाट गुज्रिरहेकी सेफिल्डकी ३० वर्षीया लाउरी जाडे उडरुफ अहिले मनोबैज्ञानिक परामर्श लिइरहेकी छिन् ।१२ वर्षको उमेरमा कुमारीत्वभंग भएकी लाउरीलाई दिनहुँ फरक–फरक पुरुषसँग शारीरिक सम्बन्ध राख्ने नशा लागेको छ । उनले पछिल्लो केही समय दिनहुँ फरक–फरक पुरुषसँग सम्बन्ध राखिन् र त्यसमा कोही पनि दोहोरिएनन् । लाउरीको अनुमानअनुसार उनले २ सय भन्दा बढी पुरुषसँग सम्बन्ध बनाइन् । पछि उनले शारीरिक सम्बन्ध राखेका पुरुषहरूको संख्या गणना गर्न पनि छोडिन् । उनी कुनै पनि डेटिङ एप प्रयोग नगरी पुरुषहरूको खोजी गर्थिन् । त्यसका लागि उनी सामाजिक संजालका विभिन्न प्लेटफर्म प्रयोग गर्थिन् । आफ्ना केही कामोत्तेजक तस्बिर अपलोड गरेपछि त्यसमा आउने प्रतिक्रियाका आधारमा उनी आफ्नो बेड पार्टनर छनौट गर्थिन् ।

 

पहिलो विश्व

छोराले मोटी भनेपछि

- साप्ताहिक संवाददाता

मोटोलाई मोटे/मोटी, होचोलाई पुड्का/पुड्की, कालोलाई काले/काली भन्दा जसको पनि मनमा चसक्क हुन्छ । उत्तरी डाकोटामा बस्ने ३५ वर्षीया साउना हार्सम्यानलाई पनि आफ्नै ३ वर्षको छोराले मोटी भनेपछि त्यो कुरा उनको मनमा गड्यो । पहिलो सन्तान जन्माउने क्रममा साउनाले खासै मुख बारिनन्, जे मनलाग्यो त्यही खाइन् । पहिलो छोरा तीन वर्षको भएपछि दोस्रो सन्तान जन्माउने क्रममा उनी अझ मोटाइन् । उनको त्यतिबेलाको तौल १ सय ३३ किलोग्राम थियो । अरुले मोटाएको भन्दा खासै वास्ता नगर्ने साउना आफ्नो तीन वर्षको छोराले मोटी भनेपछि भने आफ्नो तौल घटाउने निर्णयमा पुगिन् । त्यसपछि नियमित रुपमा कसरत र तौल घटाउने औषधिको सेवनबाट उनले केही वर्षमै आफूलाई ६२ किलो तौल घटाएर ७१ किलोकी बनाएकी छिन् ।

Page 24
अपराध

भारतीय नेटवर्किङ कम्पनीद्वारा सयौं नेपाली ठगिए

- कमल पन्थी

लामो समयदेखि अवैध औषधी बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ चलाएको आरोपमा पक्राउ परेका चार जनालाई बर्दिया प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजापुर नगरपालिका—३ कि आशा थारु, बारबर्दिया नगरपालिका—७ का दीपक चौधरी, गुलरिया नगरपालिका—५ का हिमाल भनिने प्रजय चौधरी तथा गुलरिया नगरपालिका—४ का विवेक थारु छन् । यसका मुख्य नाइके नेपाली नागरिक कैलाली टीकापुर—१ का अन्दाजी २६ वर्षका साजन चौधरी भारतमा छन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोल मार्फत रेड कर्नर आदेश जारी गरेको छ ।
नेपालमा प्रतिबन्धित ओरियन्स कम्पनीले औषधी बिक्री गर्न बर्दियाका गरिब, अशिक्षित तथा सोझा युवायुवतीहरूलाई नेपाली एजेन्टमार्फत सदस्यता वितरण गरेको थियो । ओरियन्सले पश्चिम तराईको बर्दिया, कैलालीदेखि कञ्चनपुरसम्म अवैद्य रूपमा ठूलो संख्यामा सदस्य बनाई ठगी गरिरहेको प्रहरीले जनाएको छ । भारत उत्तरप्रदेश राज्यको लखिमपुरस्थित उक्त कम्पनीको सदस्य बन्न ६० हजार भारु शुल्क दिनुपर्ने हुन्छ । कुनै व्यक्ति सदस्य बनेपछि उसले थप दुई जनालाई सदस्य बनाउनुपर्ने भएकाले सयौं युवायुवती ठगिँदै गएको प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए ।
प्रहरी कार्यालयमा करिब सय जनाले आफू ठगिएको उजुरी दिएका छन् । ठूलो संख्यामा ठगिएका व्यक्तिहरूले उजुरी दिन थालेको प्रहरी उपरिक्षक बास्तोलाले बताए । यसको कारोबार फैलिए पनि कति सदस्य भैसकेका छन् भन्ने तथ्याङ्क कसैसँग छैन । नेपालमा प्रतिबन्धित उक्त नेटवर्किङको व्यवसाय तराईका २२ जिल्ला तथा पहाडका अधिकांश ठाउँमा विस्तार भैसकेको प्रहरीको ठम्याइँ छ । प्रतिबन्धित बहुराष्ट्रिय कम्पनी ओरियन्स ग्लोबल मार्केटिङले सिंगापुर, फिलिपिन्स, भुटान, यूएई, थाईल्याण्ड, मलेसिया, श्रीलंकासँगै नेपालमा पनि गैरकानुनी रूपमा व्यवसाय विस्तार गरेको आरोप छ ।
यसको प्रधान कार्यालय, भारतको चेन्नई, शाखा दिल्ली तथा सीमावर्ती लखिमपुरमा नेचुरेल वेल इन्टरप्राइजेज नामक उपशाखा छ । पक्राउ परेकाहरूले दिएको बयान अनुसार उक्त संस्थाको सदस्य बन्न २ हजार तिर्नुपर्छ । सदस्यता लिएकाहरूलाई चार दिनको प्रशिक्षण दिइन्छ र पाॅचौं दिनमा ग्राहकसँग बोल्न सक्छ कि सक्दैन भनी सामान्य परीक्षा लिइन्छ । उनीहरूले २ जनालाई अनिवार्य सदस्य बनाउनुपर्छ ।
यो नेटवर्किङ व्यापारमा एउटा समूह बन्न ३ जनाको आवश्यकता हुन्छ । जति सदस्य बनायो उतिनै ठूलो पद र कमिसन पाउने प्रलोभन दिने गरिएको बयान हिरासतमा लिइएकाहरूको छ । राजापुर नगरपालिका—३ कि मुक्तकमलरी सविता राजवंशीले सदस्यता लिएबापत ६० हजार भारु बुझाएको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् । उनले आफू ठगिएकाले कारबाहीका लागि सदस्यता बनाउनेहरू विरुद्ध उजुरी दिएको कुरा बताउँदै भनिन्– गरिब परिवारका सोझा बिरामीलाई औषधी बेच्ने लक्ष्य बनाएर सदस्य बनाई ठग्ने काम भएको छ । सदस्य बनाएको रकम असुल्न भारतीय तथा नेपाली एजेन्टहरू बेला–बेलामा गाउँ छिर्ने गरेका छन् । अधिकांश सदस्य ग्रामीण क्षेत्रका भएका कारण उनीहरू प्रहरी निगरानी भन्दा टाढै भएकाले छल्दै आउजाउ गर्ने राजापुर—५ कि पहरी थारुले बताइन् ।
हरेक रोगको उपचार ६० हजार रुपैयाँमा जिन्दगीभर हुने भन्दै रकम लगेको पीडितहरूले दिएको उजुरीमा उल्लेख छ । सदस्य बनाए बापत कमिशन पनि नदिने र औषधी भने बढीमा २ हजार रुपैयाँसम्मको दिएर पठाउने गरिएको पीडितहरूले दाबी गरेका छन् ।
कम्पनीको सदस्य बनाए बापत बसीबसी तलव खाने र औषधी उपचार निःशुल्क पाइने भन्दै उक्त नेटवर्किङले धेरै एकपछि अर्को गरी ठग्दै आएको बताइन्छ । प्रहरीका अनुसार यो नेटवर्किङमा लागेका १८ देखि ३० वर्षसम्मकाले ऋण काढेर सदस्यता लिएका छन् । राजापुर—५ कि विमला कुमारी थारुले ६० हजार भारु शुल्क बुझाएपछि नेपालमा थप सदस्य बनाउन लखिमपुर(भारत)मा चार दिनको प्रशिक्षण लिएको बताइन् । पछि आफू ठगिएको थाहा पाएपछि अरू पनि ठगिनबाट बचुन भनेर ठगी गर्नेहरू विरुद्ध प्रहरी कहाॅ उजुरी दिएको उनले खुलाइन् । नेटवर्किङ ठगी प्रमाणित भए मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा ३ (ग) बमोजिम सात वर्ष सम्म कैद तथा ७० हजार जरिवाना हुने प्रावधान छ ।

अपराध

सानो अन्डाको सास्ती

- हरिहरसिंह राठोर

घरमा पालेको कुखुराले सानो अन्डा पार्दा प्रहरी खोरसम्म पुग्नुपर्ला भन्ने कल्पना कसले गर्ला ? यद्यपि उत्तरी धादिङको खनियावास–२, कलङम्रङ झार्लाङका एक बासिन्दा अफवाह उडाएर समाजमा आतंक फैलाएको आरोपमा प्रहरी खोरमा पुगेका छन् ।गत शनिबार झार्लाङ कलङम्रङका सोमबहादुर तामाङले पालेको कुखुराको खोरमा सधैंको भन्दा निकै सानो अन्डा भेटिएको थियो । कुखुराले पारेको अन्डा सानो भएपछि सोमबहादुरले छिमेकीलाई देखाए । यसरी अन्डा देखाउने क्रममा सोमबहादुरको कुखुराको खोरमा भेटिएको अन्डा भाले कुखुराले पारेको हो भन्ने निष्कर्षसहित हल्ला फैलियो । कतिपयले त उक्त अन्डाको मूल्य नै १ करोडभन्दा बढी पर्ने दाबी गर्न थाले । धेरै मूल्य पाउने कुरा सुनेपछि सोमबहादुरले उक्त अन्डा लुकाए, तर लुकाएको पर्सिपल्ट अन्डा गायब भएपछि उत्पन्न परिस्थितिले सोमबहादुरलाई प्रहरी खोरमा पुर्‍याएको छ ।

कसरी पुगे प्रहरी हिरासतमा ?
सोमबहादुरले छिमेकीलाई आफ्नो कुखुराले पारेको अन्डा देखाउँदा भालेको अन्डा सानो हुने र त्यो अन्डा बहुमूल्य हुने कुरा सुने । गाउँमा त्यो अन्डा १ करोडभन्दा बढीमा बिक्री हुन्छ भन्ने कुरा सुनेपछि दंगदास परेका सोमबहादुरले अन्डाको फोटो खिचे र घरभित्र रहेको अन्नको भकारीमा उक्त अन्डा लुकाए । त्यसपछि उनले सदरमुकाममा भएका आफन्तहरूकहाँ भालेले पारेको अन्डा आफूसँग भएको र ग्राहक खोजिदिन खबर पठाए । दुई दिनपछि भकारीमा हेर्दा अन्डा लुकाएको ठाउँमा फेला परेन ।
लुकाएको ठाउँबाट अन्डा हराएपछि उनले आफूले विश्वास गरेका लामा झाँक्री (गजबहादुर लामा) लाई हेराए । लामा झाँक्री गजबहादुरले सोमबहादुरकै छिमेकी रामकुमार तामाङले अन्डा चोरेर चितवन पठाइदिएको जोखना हेरे । यता झाँक्रीले अन्डा चोरेको आरोप लगाएका रामकुमार तामाङ र सोमबहादुरका साला पर्ने मंगबहादुर तामाङबीच अन्डा चोरीको विषयमा सदरमुकामको एक होटलमा भनाभन भयो । उक्त झगडापछि मात्र ‘भालेको अन्डा काण्ड’मा प्रहरीको प्रवेश भयो ।
झगडा भएपछि चोरीको आरोप लागेका व्यक्तिले आफ्नो मानहानि भएको तथा आफ्नो अपमान गरिएको भन्दै लामाले झाँक्री गजबहादुर र सोमबहादुरविरुद्ध उजुरी दिएपछि प्रहरीले लामा झाँक्री र सोमबहादुर
दुवै जनालाई पक्राउ गरेर हिरासतमा राख्यो ।
प्रहरी हिरासतमा रहेका सोमबहादुरले भने आफूलाई प्रहरीले किन र के कारण हिरासतमा लिएको हो भन्ने विषयमा आफूलाई केही थाहा नभएको कुरा बताएका छन् । उनले भने, ‘मेरो घरको कुखुराले सानो अन्डा पारेको साँचो हो, तर यो अन्डाको विषयमा कोही कसैसँग केही कुरा भएकै छैन । मैले लामालाई पनि आफ्नो परिवारको आखत (जोखना) मात्र देखाएको हुँ, अन्डाका बारेमा केही
भएकै छैन ।’
प्रहरी हिरासतमै रहेका झाँक्री गजबहादुर लामाले पनि आफूले कसैलाई पनि अन्डाचोरको दोष नलगाएको दाबी गरेका छन् । लामाले भने, ‘सोमबहादुर म भए ठाउँमा आउनुभएको हो, उहाँको परिवारका बारेमा आखत (जोखना) हेरेको हो, मैले कसैलाई दोष लगाएको छैन ।’
प्रहरी हिरासतमा रहेका उनीहरू दुवैलाई जिल्ला अदालत धादिङमा पेस गरेर म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख एसपी राजकुमार बैदवारले बताए । उनले भने, ‘गाउँमा अनावश्यक अफवाह हल्ला फैलाई गाउँ समाज अशान्त बनाउने, अन्डा किन्ने र बेच्ने बहानामा गाउँलेहरूबीच झगडा उत्पन्न गराएको आरोपमा नियन्त्रणमा लिएका छौं ।’ जिल्ला प्रहरी प्रमुख बैदवारका अनुसार सोमबहादुर तथा लामा झाँक्री दुवैविरुद्ध अभद्र व्यवहारअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Page 25
अपराध

जुवाको खालमा सम्भ्रान्तहरू

- साप्ताहिक संवाददाता

- १० कात्तिकमा महाराजगन्जबाट क्यासिनो किङ ‘बले’सहित हाइप्रोफाइल व्यवसायीहरूको ठूलै जुवाडे समूह प्रहरी फन्दामा पर्‍यो । धनाढ्य व्यवसायीहरूसमेत सहभागी मिनी क्यासिनोजस्तो लाग्ने महाराजगन्जस्थित उक्त जुवाको खालबाट २५ जना पक्राउ परे भने ३२ थान कौडासहित २ करोड ६७ लाख रुपैयाँ प्रहरीले बरामद गर्‍यो ।
- १५ कात्तिकमा महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाली सेनाका सेनानी राजेन्द्र शाहीसहित ८ जनालाई पक्राउ गर्‍यो । टोखास्थित उक्त जुवाको खालबाट प्रहरीले १ लाख ५९ हजार रुपैयाँसमेत बरामद गर्‍यो ।
दसैं अझ तिहारमा नेपालीहरूले रमाइलोका रूपमा सामान्य जुवा खेल्छन्, तर माथिका घटनाक्रमले यस्ता मौकामा भिआईपी तथा ठूला जुवाडेहरूसमेत सक्रिय भएको उदाहरण प्रस्तुत गर्छन् । यो कुरा कसरी पनि पुष्टि हुन्छ भने प्रहरीले असोज ३ गतेदेखि १३ गतेसम्म मात्र ४३ स्थानका जुवाको खालमा छापा मार्दा ३ करोड ३० लाखभन्दा बढी रकम बरामद गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।
तिहारको मौकामा ठूलो आर्थिक क्रियाकलाप हुने प्रमुख सहरहरूमा ठूला जुवाको खाल जम्ने गरेको पाइन्छ । दर्जनौं जुवाडे पक्राउ पर्नु र त्यही मात्रामा नगदसमेत बरामद हुनुले पनि यसलाई पुष्टि गर्छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौबाट मात्र दसै तिहारको अवधिमा झन्डै ३ सय जना जुवाडे पक्राउ परेका छन् भने ३ करोड १५ लाख राजस्व संकलन भएको छ ।
हरेक वर्षको दसैं–तिहारमा जुवाडेहरू बढी सक्रिय हुन्छन् । सर्वसाधारण पनि बिदामा परिवारसँग बसेर सामान्य तास खेल्ने तथा सुरक्षा निकायको पनि ध्यान नपुग्ने मौकालाई अवसरका रूपमा छोपेर पेसेवर जुवाडेहरू सक्रिय हुने भएकाले यो समयमा जुवा खेल्नेहरू बढी मात्रामा पक्राउ पर्ने प्रहरीको भनाइ छ । दसैं–तिहारमा जुवाडेहरू बढी सक्रिय हुनुको कारण यतिबेला जुवा खेल्नुपर्छ भन्ने मानसिकता, चाडबाडलाई देखाएर प्रहरीलाई टार्न सकिन्छ भन्ने सोच तथा पैसा हात पर्ने समयलाई कारण मान्छन् नेपाल प्रहरीका भक्तपुर प्रमुख रेवतीरमण पौडेल । ‘दसैं–तिहारमा जुवा खेल्नुपर्छ भन्ने मानसिकता छ, चाडवाड भएकाले टार्न र छल्न सकिन्छ भन्ने सोच पनि हाबी छ,’ पौडेल भन्छन्, ‘यो पैसा हात पर्ने बेला पनि भएकाले यो समयमा मानिसहरू बढी जुवा खेल्छन् ।’ उनका अनुसार पेसेवर रूपमा जुवा खेलाउनेहरू पनि यो समयमा बढी पैसा कमाउन सकिने भएकाले निकै सक्रिय हुन्छन् ।
रोचक त के भने यसपटकको दसैं–तिहारमा विगतको तुलनामा ठाउँ–ठाउँमा भीआईपी जुवाडेहरू प्रहरी फन्दामा परेका छन् । प्रधानमन्त्रीका सुरक्षा अधिकृतदेखि करोडपति व्यवसायीसम्मलाई जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ । यसपटकको दसैं–तिहारकै सबैभन्दा ठूलो जुवाको खालमाथि १० कात्तिक बिहान २ बजे काठमाडौं महाराजगन्जको पिपलमार्गस्थित विक्रम गौतमको घरमा प्रहरीले छापा मारेको थियो । ‘मिनी क्यासिनो’ संज्ञा दिइएको उक्त जुवाको खालबाट २५ जना पक्राउ पर्नुका साथै नगद २ करोड ६७ लाख तथा बैंक अफ काठमाण्डूको ३ लाखको चेक समेत प्रहरीले बरामद गरेको थियो । उक्त जुवाको खालबाट पक्राउ परेका बलेसहित ठेकेदार पवनकुमार गुप्ता, श्रवणकुमार गोयल, व्यवसायी पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामालगायतको सम्पत्तिमाथि सम्पत्ति
शुद्धीकरण विभागले छानविन गर्ने भएको छ ।
बलेसहितका हाइप्रोफाइल पक्राउ परेको एक साता नबित्दै कात्तिक १५ मा प्रहरीले प्रधानमन्त्री ओलीका एडिसी नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित ८ जनालाई जुवाको खालबाटै पक्राउ गर्‍यो । सामाखुसीस्थित एक घरबाट शाहीसहित बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही, किरणजंग शाह, नीरज राणा तथा जितबहादुर गुरुङ पक्राउ परेका थिए । उनीहरूबाट १ लाख ५९ हजार ३ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
जुवाको खालबाट केही स्थानीय तहका जनप्रतिनिधि तथा नेताहरूसमेत पक्राउ परेका छन् । ११ कात्तिकमा लमजुङ प्रहरीले बेसीसहरबाट निर्वाचित वडासदस्य, नेतासहित २५ जनालाई जुवाको खालबाट पक्राउ गर्‍यो । त्यहाँ पक्राउ परेकाहरूबाट २ लाख १६ हजार नगद तथा ३२ थान कौडा बरामद भएको थियो । प्रहरीले बेसीसहर–१ बाट निर्वाचित वडासदस्य र स्थानीय नेताहरूलाई पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय तथ्यांकले तिहारमा अर्थात् ३ कात्तिकदेखि १३ कात्तिकसम्म देशका ४३ स्थानमा जुवाको खालमा छापा मारिएको देखाउँछ । ती ४३ स्थानबाट ३ महिलासहित ४ सय ६५ जना पक्राउ परे भने उनीहरूबाट ३ करोड ३० लाख नगद बरामद भएको नेपाल प्रहरीको केन्द्रीय तथ्यांकमा उल्लेख छ ।

अपराध

के हुन्छ जुवाडेलाई सजाय ?

- साप्ताहिक संवाददाता

कानुनतः जुवा खेल्नुलाई बर्जित गरिएको छ । मुलुकी अपराधसंहिता, २०७४ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिना कैद वा ३० हजार रुपैयाँसम्म सजायको व्यवस्था गरिएको छ । यस्तै, दोस्रो पटक जुवा खेल्ने वा खेलाउनेलाई एक वर्ष कैद तथा ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । त्यसपछि पनि जुवा खेलेर पक्राउ परे पटकैपिच्छे थप तीन महिना कैद तथा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

अपराध

उक्लँदो ग्राफ तीन वर्षमा ७ हजार जुवाडे पक्राउ

- साप्ताहिक संवाददाता

जुवाको खालबाट पक्राउ परेका घटना काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, धरान आदि सहरमा मात्र होइन, गाउँहरूमा उत्तिकै घटेको पाइन्छ । प्रहरीका अनुसार जुवामा हरेक वर्ष मुद्दा दर्ता र पक्राउ पर्नेको संख्या दुवै बढेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार जुवा खेल्नेहरूको संख्या वृद्धि भैरहेको देखिन्छ । पछिल्ला तीन वर्षको तथ्यांक विश्लेषण गर्दा जुवासम्बन्धी ९ सय ५६ वटा मुद्दामा ७ हजार १ सय ९७ जना पक्राउ परेका छन् भने ५३ जना फरार छन् ।
तथ्यांकअनुसार ०७३/७४ मा देशभर जुवासम्बन्धी २ सय ६ वटा मुद्दा दर्ता भएका थिए । उक्त मुद्दामा १ हजार ५ सय ४ जना पक्राउ परे भने १५ जना फरारकै सूचीमा छन् । यस्तै, ०७४/७५ मा ३ सय ५९ वटा मुद्दा दर्ता भए, जसमा २ हजार ८ सय २४ जना पक्राउ परे भने ३२ जना फरारको सूचीमा थिए । यस्तै, ०७५/७६ मा ३ सय ९१ जुवासम्बन्धी मुद्दा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ । ती मुद्दामा २ हजार ८ सय ६९ जना पक्राउ परेका थिए भने ६ जना फरार थिए ।
हरेक वर्ष जुवा खेल्नेहरूको बढ्नुको कारण के हो त ? नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल बेरोजगारी, गैरकानुनी पैसा तथा कानुन कडाइका साथ पालना गर्न नसक्नुलाई जुवा खेल्नेहरू बढ्नुको कारण मान्छन् । ‘जुवा खेल्नेहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ,’ पोखरेल भन्छन्, ‘यसका मुख्य तीन कारण छन् । एउटा अवैधानिक आम्दानी, दोस्रो बेरोजगारी तथा तेस्रो कानुनको निर्दयताका साथ पालना गराउन नसक्नु ।’ पोखरेल कानुनअनुसार जुवा खेल्नेहरूलाई अधिकतम सजाय दिलाउनुपर्ने कुरामा जोड दिन्छन् । प्रवक्ता पोखरेलका अनुसार कानुनी रूपमा कमाउनेहरू हारजितका लागिभन्दा पनि रमाइलोका लागि मात्र जुवा खेल्छन् । प्रहरीले हालै महाराजगन्जस्थित जुवाको खालबाट बरामद ठूलो पैसाको स्रोत नदेखिएपछि सम्पत्ति शुद्धीकरण विभागलाई गुहारेको छ । यसले पनि पोखरेलको तर्कलाई बल पुर्‍याउँछ ।

 
दसैं–तिहारमा कहाँबाट कति पक्राउ

काठमाडौं
पक्राउ : ३ सय जना
बरामद रकम : ३ करोड १५ लाख

ललितपुर
पक्राउ : २० जना
बरामद रकम : ३ लाख ८० हजार

भक्तपुर
पक्राउ : ३३ जना
बरामद रकम : ७ लाख ८३ हजार

Page 26
अपराध

बग्दादी जसको मृत्युमा सिंगो विश्व रमायो

- गोविन्द पोखरेल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा बग्दादीको मृत्युमा गर्व व्यक्त गरे । ती व्यक्ति को थिए जसको मृत्युमा अमेरिकाले गर्व गर्‍यो ? सारा विश्व नै रमायो । बग्दादी तिनै व्यक्ति हुन्, जसको जानकारी दिनेलाई अमेरिकाले २५ मिलियन डलरको पुरस्कार घोषणा गरेको थियो । आतंककारी ओसामा विन लादेनको खबर दिने जोकोहीलाई पनि अमेरिकाले यति नै रकम पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।
अबु बक्र अल बग्दादी इस्लामिक स्टेट अफ इराक एन्ड सिरियाका (आईएसआईएस) सर्वोच्च नेता थिए । आईएसआईएस एउटा आतंकवादी संगठन हो । यो हजारौं निर्दोष मानिसको हत्या गर्ने एक रुढिवादी जेहादीहरूको समूह हो ।

बग्दादीको उदय
बग्दादीको उदय र पतनको कथा इराकमा अमेरिकी सेनाको हस्तक्षेपबाट सुरु हुन्छ । उनको उदय र पतन दुवैमा कहीँ न कहीँ अमेरिकाको संलग्नता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाएका छन् । सन् २००३ मा इराकमाथि हमला गर्दै प्रवेश गरेको अमेरिकी सेनाका कारण इराक द्वन्द्वमा धकेलियो । सन् २००४ मा भएको आन्दोलनका क्रममा बग्दादी अमेरिकी सेनाबाट समातिए । इराकमा भएको अमेरिकी जेलमा १० महिनाको बसाइपछि उनी छुटेका थिए । सन् २०१० मा स–साना समूहमा प्रवेश गर्दै उनी इराकी अलकायदाको प्रमुख भएका थिए ।
सन् २००६ मा अलकायदाका इराक प्रमुख अल ज्वारकीको अमेरिकी ड्रोन हमलामा निधन भएपछि इराकको अलकायदा फुटी इस्लामिक स्टेट अफ इराकको निर्माण भएको थियो । अबु ओमर अल बग्दादी उक्त समूहका नेता थिए । उनको पनि हत्या भएपछि सन् २०१० मा बग्दादीले त्यसको नेतृत्व लिए । बग्दादीले उक्त समूहलाई अघि बढाउँदै सन् २०१२ मा सिरियासम्म फैलाउने सफलता प्राप्त गरे । यता सन् २०११ सम्ममा अमेरिकी सेना इराकबाट बाहिरिसकेको थियो ।
बग्दादीले त्यतिबेलासम्म धेरै ठूला काम गरिसकेका थिए । उनले सद्दाम हुसेनका सेना तथा खुफिया एजेन्टहरूलाई आफ्नो समूहमा समाहित गर्दै संगठन विस्तार गरे । इस्लामिक स्टेट अफ इराक (आईएसआई) को स्थापनासमेत गरे ।
आईएसआईको उदयपछि बग्दादीले सिरियाको फ्रि सिरियन आर्मीसँग सहकार्य गरेर संगठनलाई अझ दह्रो बनाए । सन् २०१४ मा आएर उनले इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस) को निर्माण गरे ।

शक्ति सञ्चय यात्रा
सिरियामा जारी द्वन्द्वका क्रममा फ्रि–सिरियन आर्मीले हतियार नभए आफूहरूले असद सरकारसँगको युद्ध हार्ने बताएपछि अमेरिका, इजरायल आदि मुलुकले फ्री सिरियन आर्मीलाई हातहतियार तथा तालिम प्रदान गरेका थिए तर त्यहाँ आईएसको घूसपैठ भएको थियो । फ्री सिरियन आर्मीको नाममा आएको हतियार आईएसको हातमा पुगेसँगै बग्दादी थप शक्तिशाली बन्न पुगे । सन् २०१४ सम्म आइपुग्दा बग्दादीको आईएस शक्तिशाली संगठनको भैसकेको थियो ।
अमेरिकाकै मद्दतमा जानेर वा नजानेर अलकायदा र ओसामा बिन लादेनको जसरी उदय भएको थियो, त्यसरी नै बग्दादीको पनि उदय भयो । बग्दादीले आफ्नो साम्राज्य फैल्याउँदै विभिन्न भूभागमा शासनसमेत चलाएका थिए । सन् २०१९ को मार्चमा आएर आईएसले कब्जा गरेको सबै भूभाग सिरियन आर्मीले फिर्ता लगेपछि आईएस पतनको दिशातर्फ लागेको हो ।
आईएसका प्रमुख बग्दादी एकताका विश्वविद्यालयका प्राध्यापक थिए । उनी सन् २०१४ मा पहिलो पटक एउटा भिडियोमा देखा परे । मोसुलको एक विशाल मस्जिदमा बग्दादीले आफूलाई ‘कोलिफेट’ घोषणा गरे । मध्य एसियाली मुलुकहरूले त्यसको भर्त्सना गर्दै विरोध जनाए । आईएसमा कोलिफेटबाट राज्य सञ्चालन हुनुपर्ने मान्यता छ । कोलिफेटलाई राज्य सञ्चालन गर्न ईश्वरद्वारा पठाइएका प्रतिनिधिका रूपमा आईएस दाबी गर्छ तर मुस्लिम धर्मालम्बीमा कोलिफेटलाई मान्दैनन् ।
सुन्नी मुस्लिमहरूले निर्माण गरेको अलकायदाबाटै आईएसको गठन भएको मानिन्छ । सिया नेतृत्वको इराकी सरकारले लिएको साम्प्रदायिक नीतिप्रति सुन्नी समुदायको आक्रोश बढ्ने क्रममा बग्दादीले त्यसको फाइदा उठाउँदै आफ्नो संगठनलाई ठूलो बनाएका हुन् ।


बग्दादीको जीवनकाल
अबु बक्र अल बग्दादीको जन्म २८ जुलाई सन् १९७१ मा इराकको राजधानी बग्दादको उत्तरमा पर्ने समरा सहरमा भएको थियो । उनी संयुक्त राष्ट्रसंघ तथा युरोपियन युनियनद्वारा घोषित खुंखार आतंककारी थिए । २०११ मा अमेरिकाले उनका बारेमा खबर दिनेलाई १० मिलियिन डलर इनाम दिने घोषणा गरेको थियो । २०१७ मा त्यसलाई बढाएर २५ मिलियन डलर पुर्‍याइएको हो ।
बग्दादीसहित उनका पिताका ४ छोरा थिए । उनी तेस्रो सन्तानका रूपमा जन्मिएका हुन् । बग्दादीका बुवाको नाममा सेख अवाद हो । उनका बुबा समुदायका सक्रिय सदस्य हुनुका साथै धार्मिक प्रवचनहरू दिन्थे । बग्दादीले धार्मिक शिक्षा लिएका थिए । त्यसैले उनी धर्मगुरु पनि भए ।
उनकी आमाको नाम सार्वजनिक भएको छैन । विभिन्न समाचार संस्थाका अनुसार बग्दादीका एक जना काका सद्दाम हुसेनको सुरक्षा फौजमा संलग्न थिए भने एक भाइ इराकी सेनाको अधिकृत तथा अर्का एक भाइ इराक–इरान युद्धका क्रममा मारिएका थिए ।
इराकी विश्वविद्यालयमा इस्लामिक कानुन र कुरान अध्ययन गरेका बग्दादीले अध्यापन समेत गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । सन् २०१४ मा अमेरिकी तथा इराकी जासुसहरूले गरेको एक अनुसन्धान अनुसार बग्दादीले इस्लामिक विश्वविद्यालयबाट इस्लाम धर्ममा डक्टरेट गरेका थिए ।
बाल्यकालमा निकै लजालु स्वभावका बग्दादी बग्दादमा एउटा सानो कोठा लिएर बस्थे । उनको जीवनस्तर सामान्य थियो । सधै एक्लो र शान्त देखिने बग्दादीको जीवनशैली भने सधैँ रहस्यमय तरिकाको हुने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आईएसको प्रमुख हुँदा बग्दादीलाई ‘इनभिजिबल सेक’ बताइन्थ्यो । बग्दादीका ३ श्रीमतीमध्ये दुई इराकी तथा एक सिरियाली थिए । तीनको नाम सार्वजनिक भएको छैन । सन् २०१० मा उनी आईएसको इराक प्रमुख भएसँगै उनको आतंकवादी गतिविधिले गति लिएको हो ।


अपराध यात्रा
संयुक्त राष्ट्रसंघ तथा युरोपियन युनियनद्वारा घोषित आतंकवादी थिए– बग्दादी । उनको अपराधको फेहरिस्त लामै छ । आफूलाई स्वघोषित कोलिफेट बनाएका बग्दादीले महिलामाथि हिंसा गर्ने, विद्यालयमा पठनपाठन हुन नदिने तथा खोजी–खोजी अन्य समुदायका मानिसहरूको हत्या गर्ने काम गरे ।
उनका कयौ यौन दासी थिए । बग्दादीको संगठनले विभिन्न मुलुकका नागरिकलाई बन्दी बनाउँथ्यो । उनले एक अमेरिकी महिलालाई यौन दासी बनाएर उनको हत्या समेत गरेका थिए । हत्या, हिंसा तथा बलात्कार उनी र उनको समूहको दैनिकी थियो । लुटपाट, अपहरण, फिरौती, धम्की अनि तेल खानीमाथिको कब्जाले उनको संगठनलाई धनी बनायो । बग्दादी सन् २०११ मा इराकको उम–अल कोर मस्जिदमा भएको आत्मघाती बम हमालामा संलग्न थिए । उक्त आक्रमणमा एक सुन्नी विधायिकाको समेत मृत्यु भएको थियो ।
सन् २०११ को मार्च र अप्रिलमा मात्र उनको फौजले २३ वटा स्थानमा आक्रमण गर्‍यो । बग्दादमा भएको एउटा आतंककारी हमलामा सयौंको ज्यान गयो । मे ५ मा बग्दादको दक्षिण क्षेत्रमा पर्ने हिला भन्ने ठाउँमा भएको आक्रमणको मुख्य योजनाकार बग्दादी नै थिए । त्यहाँ २४ जना प्रहरीको मृत्यु भएको थियो भने ७० भन्दा बढी घाइते भएका थिए । अगस्ट १५ मा उनले मोसुलमा आक्रमण गरे । उक्त आत्मघाती बम विस्फोटमा ७० जनाको मृत्यु भयो । डिसेम्बरमा उनको निर्देशनमा बग्दादको एउटा छिमेकी सहरमा एक कार विस्फोट भयो जसमा ६३ जना मारिए ।
बग्दादीको आईएसले फ्रान्सको राजधानी पेरिसमा सन् २०१५ मा आत्मघाती आक्रमण गर्दा १ सय ३० जना निर्दोष नागरिकको ज्यान गएको थियो । यस्तै, २०१६ को ट्रक आक्रमणमा परी ८६ जना मारिएका थिए भने जुन २०१६मा भएको एयरपोर्ट आक्रमणमा ४५ जना मारिए । बग्दादी ती सबै घटनामा कुनै न कुनै रुपमा संलग्न थिए ।
सिरिया र इराकमा कब्जा जमाउन थालेपछि बग्दादीलाई सिंगो विश्वले आतंकाकारीका रूपमा चिनिसकेको थियो । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आईएसलाई जी–२० मुलुकहरूले सहयोग गरेको आरोपसम्म लगाए । उनको संगठनलाई मध्य एसियाका केही मानिसले सहयोग गर्ने गरेको बताइएको छ । आईएसले कब्जा गरेका सहरहरूमा तेलका ठूल्ठूला कुवा अर्थात् खानी थिए । त्यही तेल कालोबजारीमा प्रयोग गरेर दैनिक लाखौं डलर कमाउँथे बग्दादी ।
उनी मासिक तलब दिएर लडाकूहरू भर्ती गर्थे । एक जना लडाकुलाई मासिक ५ सय देखि ८ सय डलरसम्म दिने गरिएको पश्चिमा सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले बग्दादी तथा उनको संगठन विरुद्ध करोडौं डलर खर्च गरेको छ ।
आईएसको सम्बन्धमा चर्ल्स लिस्टर तथा प्याट्रिक ककबर्नद्वारा लिखित पुस्तकका अनुसार सन् २०१५ मा आईएसआर्ईसँग ३० हजार सैनिक थिए जसमा १५ हजार विदेशी थिए । विदेशी भन्नाले इराक र सिरिया बाहेकका । उक्त समूहसँग करिब दुई अर्ब डलर बराबरको सम्पत्ति थियो भने वार्षिक आम्दानी २ सय मिलियन देखि ३ सय मिलियन डलर हुने गरेको बताइएको छ । आईएसले इराकदेखि सिरियासम्मको करिब ८८ हजार वर्गकिलोमिटर क्षेत्रमा कब्जा जमाएको थियो ।


आईएस र बग्दादी
बग्दादी ४ जुलाई २०१४ मा पहिलो पटक सार्वजनिक भएका थिए । बग्दादीले मुस्लिम समुदायलाई इस्लामिक स्टेटमा आउन आहृवान गर्दै इराक र सिरिया विरुद्धको लडाइँमा सहभागी हुन अनुरोध गरेको भ्वाइस रेकर्ड सार्वजनिक भएको थियो ।
सन् २०१५ सम्म आईएसले सिरिया तथा इराकमा बेलायत जत्रो भू–भाग कब्जा गरेको थियो । सन् २०१५ को ८ फेब्रुअरीमा जोर्डनले उनले कब्जा गरेका स्थानहरूमा ५६ वटा एयर स्ट्राइक गर्‍यो जहाँ ७ हजार आईएस लडाकु मारिएको दाबी गरियो । यता बग्दादी राकाबाट भागेर मोसुल पुगे । सन् २०१९ को मार्चसम्म आइपुग्दा आईएस पूरै कमजोर भयो । उसले नियन्त्रणमा लिएको अन्तिम भू–भाग पनि सिरियन आर्मीले मुक्त गरेपछि आईएसको पतन सुरु भयो । बग्दादीले गत महिना टेपमार्फत आफ्नो परिवारका सदस्य तथा लडाकुहरूलाई मुक्त गर्न आग्रह समेत गरेका थिए । बग्दादी अमेरिकी सेनाको विशेष फौजले सिरियाको इड्लिबमा गरेको कारबाहीका क्रममा अक्टोबर २७ मा मारिए । बग्दादी लुकेर बसेको स्थानमा अमेरिकी सेना जमिनमा उत्रनुअघि उनी ज्यान जोगाउन सुरुङभित्र पसेका थिए । त्यहीँ उनले भेस्ट बम विस्फोट गराई आत्महत्या गरेको बताइन्छ । बग्दादीको डीएनए टेस्टपछि अमेरिकी सेनाले उनको शव पहिचान गरेको थियो । उनको डीएनए सन् २००४ मा इराकी जेलमा रहँदा लिइएको थियो । बग्दादीको शव समुद्रमा व्यवस्थापन गरियो । बग्दादी मारिएको ५ दिनपछि आईएसले त्यसको पुष्टि गर्दै संगठनको नयाँ नेतामा अबु इब्राहिम अल हाशेमी अल कुरैशीलाई चयन गरेको बताएको छ ।
एजेन्सीको सहयोगमा

Page 27
विकेन्ड एड्भेन्चर

एड्भेन्चर राइडमा मनाङ र मुस्ताङ

- साप्ताहिक संवाददाता

 

हिमाली जिल्ला मनाङ र मुस्ताङ अनि त्यसको आसपास । राइड कल्चरमा रमाउने नेपाली युवा तथा विदेशी पर्यटकहरूका लागि यी डेस्टिनेसन निकै आकर्षण सावित हुँदै गएका छन् । दसैं–तिहारको छेको पारेर यो क्षेत्रमा घुमफिर गर्ने विदेशी मात्र होइन, नेपाली पर्यटक समेत निकै बढेका छन् । घुमफिरका लागि विशेष गरी डर्ट बाइक तथा अफरोड गाडी प्रयोग गर्ने चलन छ । उनीहरू विशेष गरी समूहमा र कतिपयले एक्लै समेत यात्रा गर्ने गरेका छन् । नेपालमा भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा आयोजना भएका यस्ता एड्भेन्चर राइडले नेपालको पर्यटन क्षेत्रमा सघाउ पुर्‍याउने विश्वास धेरैको छ ।
दसैंको आसपासमा बीएमडब्लूका ४ बाइकमा सौरभ जेबी राणा, प्रमेश कार्की, प्रमोद श्रेष्ठ ‘गुफी’ तथा सिन हायस अपर मुस्ताङ पुगे । उनीहरूले मुस्ताङका विभिन्न स्थान पुगेर रमाउँदै अनि सामाजिक सञ्जालमा तस्बिरहरू सेयर गर्दै आफ्नो यात्रा टुंग्याए । यो यात्राका सहभागीमध्ये सौरभ बीएमडब्लू बाइकको नेपालका लागि आधिकारिक वितरक बीएमडब्लू मोटरार्डका अध्यक्ष समेत हुन् ।
गत शुक्रबार ‘अथेन्टिक मुस्ताङ’ शीर्षकमा महिन्द्रा एड्भेन्चर प्रारम्भ भएको छ । उक्त यात्रामा १७ वटा महिन्द्रा थार तथा स्कोर्पियो गाडी सम्मिलित छन् । ती गाडीमा ४० जना भारतीय तथा केही नेपाली मिडियाकर्मी एवं अफिसियलहरू छन् । काठमाडौंको गौशालाबाट प्रारम्भ भएको उक्त एड्भेन्चर ड्राइभ पोखरा, बेनी, मार्फा, जोमसोम, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङको लोमन्थाङ्सम्म पुग्नेछ ।
१० दिन लामो यो अफरोड एड्भेन्चर ड्राइभबाट सहभागीहरूले नेपालको विकट क्षेत्रको बाटोमा लामो ड्राइभिङको अनुभव संगाल्नुका साथै उत्कृष्ट प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न सक्ने विश्वास लिइएको छ । भारतका विभिन्न सहरमा मासिक रूपमा संचालन हुने यस्ता एड्भेन्चर कार्यक्रम छिट्टै नेपालमा पनि सुरु गर्ने महिन्द्रा नेपालका कन्ट्री म्यानेजर चैतन्य कागलकरले जानकारी दिए ।
बीएल–मनघरी फाउन्डेसन तथा नासा बुलेट क्लबको संयुक्त आयोजनामा पहिलो पटक काठमाडौंको पशुपतिनाथदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डोसम्म बुलेट बाइक यात्रा प्रारम्भ गरिएको छ । गत शुक्रबार नै उक्त टोली काठमाडौंको पशुपतिनाथबाट फोक्सुन्डो यात्राका लागि प्रस्थान गरेको थियो ।

काठमाडौंबाट हिडेको राइडरको टोली पहिलो दिन दाङ, दोस्रो दिन जाजरकोट तथा तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुगेको थियो । त्यसपछि उक्त टोली फोक्सुन्डोको यात्रामा लागेको आयोजक क्लबका अध्यक्ष प्रकाश लिम्बूले बताए । यो यात्रामा १२ वटा मोटरसाइकल सहभागी छन् । नासा बुलेट क्लबले हालै काठमाडौंबाट भारतको लद्दाख सम्मको बुलेट राइड समेत सम्पन्न गरेको थियो । यसभन्दा पहिले यस्तै राइड मुस्ताङको कोरला नाका सम्म पुगेको थियो । यही क्लबले करिब दुई वर्ष पहिले तिलिचो तालको यात्रासमेत गरेको थियो ।
यामाहाका एक्सटीजेड अफरोड बाइकमा गत शनिबार बाइकरहरू मुस्ताङका लागि प्रस्थान गरे । यामाहाको ‘र्‍याली फर रेन्जर्स नेपाल–२०१९’ शीर्षक दिइएको उक्त र्‍यालीका सहभागी निपूर्ण शाक्य, रुपेन्द्र कायस्थ तथा सरिता अधिकारीले स्टार्ट अप कम्पनीका रुपमा डुलुवा डटकम स्थापना गरेको करिव एक वर्ष भयो । उक्त स्टार्ट अप कम्पनीले किङ्स कलेजले आयोजना गरेको सोसियल विजनेस च्यालेन्ज–२०१९ अन्तर्गत ट्राभल इनोभेसनतर्फ पहिलो पुरस्कार समेत प्राप्त गरेको थियो । यही कम्पनीका प्रतिनिधि तथा अन्य गरी ९ जना केही दिन पहिले तिलिचो ताल पुगे । उनीहरू चामे सम्म गाडीमा र त्यसपछि करिब ५ दिन लगाएर हिड्दै, तस्बिर अनि भिडियो खिच्दै तिलिचो पुगेका थिए । डुलुवाका संस्थापक सदस्य रुपेन्द्र कायस्थ भन्छन्, ‘हामी विदेशी तथा नेपालीलाई नयाँ स्थानमा घुमाउन अनुसन्धान एवं त्यसको व्यवस्थापन गर्छौं । यसका लागि विभिन्न प्याकेज पनि तयार गरेका छौं । हामी विशेष गरी डेस्टिनेसन रिसर्च गर्छौं ।’ उनीहरूले यसै सन्दर्भमा बौद्ध स्तूपा कम्युनिटी हस्पिटल तथा देउराली जनता फर्मास्युटिकलको समन्वयमा चामे र धारापानीमा हेल्थ क्याम्प समेत सञ्चालन गरेका थिए ।

एक प्रसिद्ध बाइक कम्पनीमा कार्यरत राइडर सुवाश कटवाल यही समयमा सोलुखुम्बुको पिके पिक सम्म पुगे । करिब ४ हजार ६० मिटर अग्लो उक्त स्थानमा पुग्न उनका साथमा १५ जनाको समूह थियो । कटवालले क्रसफायर एक्सजेड २५० आरआर बाइक प्रयोग गरेका थिए भने अरूले विभिन्न कम्पनीका बाइक प्रयोग गरे । उनीहरू काठमाडौंबाट २ सय ९० किलोमिटरको दूरी बाइकबाटै पूरा गरेर काठमाडौं फर्किएका छन् ।

Page 28
हेल्थ एन्ड फिटनेस

मधुमेह के हो ?

- साप्ताहिक संवाददाता

सन्दर्भ : विश्व मधुमेह दिवस, कात्तिक २७ गते

नोभेम्बर १४ तारिखका दिन विश्व मधुमेह दिवस मनाइन्छ । समाजमा मधुमेहका बारेमा विभिन्न प्रकारका भ्रम व्याप्त छन् । विश्वभरि मधुमेहबाट ४२ करोडभन्दा बढी मानिस प्रभावित भएको अनुमान छ । अहिले प्रचलित खानपान तथा जीवनशैलीमा परिवर्तन गरिएन भने आगामी २५ वर्षमा ६५ करोडभन्दा बढी मानिस मधुमेहका रोगी हुन सक्ने बताइन्छ ।

 मधुमेहका प्रकार
टाइप–१
यो मधुमेह अटोइम्युन हो, यो वंशाणुगत हुन्छ । घरमा कसैलाई मधुमेह छ भने परिवारका अन्य सदस्यलाई पनि मधुमेह हुन सक्ने सम्भावना हुन्छ । विभिन्न कारण जस्तै भाइरसको संक्रमण, प्यांक्रियाजको संक्रमण तथा इन्सुलिनको उत्पादनमा कमी वा थपघट हुँदा पनि मधुमेह हुनसक्छ । यो किसिमको मधुमेहमा चिकित्सक तथा पोषणविज्ञको सल्लाह अनुसार खानपिन तथा औषधी प्रयोग गर्नुपर्छ ।

टाइप–२
यो मधुमेह विभिन्न कारणले हुन्छ । खानपिनमा कुनै समय निर्धारण नहुनु, जंकफुडको बढी प्रयोग तयारी खानेकुरा, मःम, चाउमिन, बर्गर, पिज्जा आदिको बढी सेवन तथा शारीरिक परिश्रमको कमी, अस्तव्यस्त जीवनशैली आदिका कारणले योमधुमेह हुने सम्भावना हुन्छ । अहिले धेरैजसो मानिसमा दोस्रो प्रकारको मधुमेह पाइएको छ ।

टाइप–३
यो क्षणिक हुन्छ । दुर्घटनामा परेर चोटग्रस्त भएका तथा गर्भवती महिलामा टाइप–३ मधुमेह देखिन्छ । यसलाई जेस्टेसनल मधुमेह भनिन्छ । गर्भवती महिलाको हकमा शिशुको जन्मपछि तथा दुर्घटनामा परेकाहरूको हकमा उपचारपछि यो मधुमेह आफैं ठीक हुन सक्छ ।

कस्तो खाना कति खाने ?
उमेर : आहार परामर्शका लागि बिरामीको उमेर, तौल, कामको प्रकार आदि थाहा पाउनुपर्छ । त्यसपछि बिरामीको रुचि, बानी तथा खानेकुराको समय तालिकासम्बन्धी जानकारी लिनुपर्छ ।
खानेकुराको इतिहास : २४ घण्टाको खानेकुराको तालिका थाहा पाएर मात्रै हुँदैन ३ देखि ४ दिन सम्मको खानेकुराका बारेमा जानकारी राख्नुपर्छ ।
रगत जाँच गर्ने समय : कतिपय बिरामीले खाली पेटमा रगत परीक्षण तथा खानापछिको जाँच गर्दा सावधानी अपनाएका हुँदैनन् । बिरामीले हिजो–अस्ति कस्तो खानेकुरा खाएका थिए त्यसको पनि ख्याल गरी सोहीअनुसार खानेकुरा खाएर रगत परीक्षण गराउनुपर्छ ।
अन्न (कार्बोहाइड्रेट) : खानेकुराको प्रमुख स्रोत अन्न हो । चामल, मकै, गहुँ, कोदो, फापर, जौं, आदि यसका प्रमुख स्रोत हुन् । मधुमेहमा रेसायुक्त खानेकुराको प्रयोग उपयुक्त मानिन्छ । हामीले दिनहुँ खानेकुराको ४० देखि ५० प्रतिशत कार्बोहाइड्रेटयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।
गेडागुडी (प्रोटिन) : प्रोटिन, जनावर तथा वनस्पतिजन्य स्रोतबाट पाइन्छ । यो शाकाहारी तथा मांसाहारीका लागि अति नै आवश्यक हुन्छ । शाकाहारीले दूध, दही, पनिर, मोही, तोफु, गेडागुडी तथा मांसाहारीले सेतो मासु (कुखुराको, छाला निकालेको) माछा, सामुद्रिक माछा, अण्डाजस्ता खानेकुराबाट प्रोटिन प्राप्त गर्छन् । प्रोटिन २५ देखि ३० प्रतिशत अथवा बिरामीको आवश्यकताअनुसार खानुपर्छ ।
चिल्लो पदार्थ : हाम्रो खानामा चिल्लो पदार्थ पनि आवश्यक हुन्छ । वनस्पतिबाट उत्पादन भएको तोरीे, सूर्यमुखी तेल, नरिवल तेल, सोयाबिन, क्यानोला तथा जैतुनको तेलबाट त्यस्तो चिल्लो प्राप्त हुन्छ । मानिसले दिनभरमा कति परिश्रम गर्नुपर्ने काम गर्छ तथा ऊ कस्ता रोगबाट पीडित छ भन्ने कुरा हेरेर मात्र चिल्लो पदार्थ सेवन गर्नुपर्छ । एक व्यक्तिले दिनभरिमा १५ मिलिलिटर वा महिनाभरि १ लिटरसम्म चिल्लो पदार्थ प्रयोग गर्न सक्छन् । भिटामिन, खनिज तत्व यसमा विभिन्न प्रकारका खनिज तत्वहरू पाइन्छन् । मौसमी तरकारी, सागपात, स्याउ, सुन्तला, मौसम, नासपाती, मेवा, सरिफा, अम्बा आदि
खान सकिन्छ ।

शारीरिक व्यायाम
- मधुमेहका बिरामीका लागि शारीरिक व्यायाम आवश्यक हुन्छ ।
- यस्ता बिरामीले दैनिक जतिपटक खानेकुरा खाएको हुन्छ त्यही अनुसार हिंडडुल गर्नु फाइदाजनक हुन्छ ।
- जुनसुकै रोग पनि औषधीले २० प्रतिशत निको पार्छ भने खानेकुरा तथा शारीरिक व्यायामले ८० प्रतिशत रोग निको हुन सक्छ । आफ्नो उमेर तथा शारीरिक अवस्थाअनुसार नियमित रूपमा योग, एरोबिक्स, पौडी, साइक्लिङ आदि गर्नुपर्छ ।

सकारात्मक सोच
बिरामीका लागि सकारात्मक सोच निकै महत्वपूर्ण कुरा हो । जतिसुकै औषधी– उपचार, ठूल्ठूला चिकित्सक कहाँ गए पनि मनमा पीर–चिन्ता लिए रोग ठीक हुँदैन । त्यसैले स्वस्थ रहन मस्तसमेत रहनुपर्छ ।

मीरा शाह, आहार तथा पोषण विज्ञ

राशिफल

यो साताको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मेष
स्थान परिवर्तन गरी थालेको व्यवसायले उचाइमा पुर्‍याउने सम्भावना छ । स–साना समस्या विदेशी साथीहरूको सहयोगबाट निराकरण गर्न सकिनेछ । नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । सामाजिक उत्सवमा सरिक हुँदा समय तथा स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।


वृष
स–साना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छ । आलोचना गर्नेहरू बढी नै भए पनि तपाईंको दृढताका कारण पराजयको सामना गर्नुपर्ने छैन । कर्मचारी वर्गले कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनु उचित हुन्छ । खर्चिलो यात्राले मनमा दुविधा उत्पन्न गराउला ।


मिथुन
परिश्रम तथा लगानीअनुसार व्यवसायले साथ नदिन सक्छ । लामो समयदेखि रोकिएका काम बिना झन्झट सम्पन्न हुनेछन् । मन पराएकाहरूले दोहोरो भूमिका निर्वाह गर्दा अलमलमा परिनेछ । भविष्यको चिन्ताले सताउन सक्छ । विदेश भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ ।


कर्कट
अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । साताको अन्त्यमा भौतिक सुविधाका साधन खरिद हुनसक्छ । विश्वास पात्रलाई वचन दिँदा संयम अपनाउनु होला । सरोकार नभएको विषयले खर्च बढाउनेछ ।


सिंह
विपरीत लिंगीबाट नौलो प्रस्ताव प्राप्त हुन सक्छ । शीघ्र निर्णय गर्दा सुरक्षित भइनेछ । तपाईंलाई प्रयोग गर्नेहरूले भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । खानपानको समय तालिका फेरबदल हुँदा स्वास्थ्य बाधाले सताउन सक्छ । साताको अन्त्यमा अवरोध निर्मूल भै प्रेरणादायक काम सम्पन्न गर्न सकिनेछ ।


कन्या
मझौला किसिमको लगानीबाट धन आर्जन हुनेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन् । कुनै पनि कुरामा समय लिएर निर्णय गर्दा लाभ होला । सामाजिक क्षेत्रमा काम गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा प्रतिष्ठा प्राप्त गर्न सकिनेछ ।


तुलाविपक्षीले स–साना त्रुटि औंल्याउन सक्छन् । लगानीले गतिलो आम्दानी हात लगाउनेछ । रोकिएका कार्यमा पुनः प्रयत्न गर्दा सफलता प्राप्त होला । पहिरनले अरूको मन लोभ्याउन सकिनेछ । भोजन तथा जीवनचर्यामा ध्यान पुर्‍याउनुपर्नेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्न सक्छ ।


वृश्चिक
अभिभावकहरूबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग पुर्‍याउनेछ । नौलो किसिमको उपहार हात लाग्ने सम्भावना छ । मित्रहरूबाट हौसला प्राप्त हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । यात्राको सिलसिलामा दान–पूण्यमा समेत संलग्न भइनेछ ।


धनु
नयाँ तथा पुराना दुवै किसिमका कामबाट फाइदा मिल्ने देखिन्छ । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनसक्छ । विदेशी पाहुनासँग भेटघाट हुने सम्भावना छ । स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला । वैदेशिक काममा लगानी गर्दा अभिभावकहरूको रुचिको ख्याल गर्नुहोला ।


मकर
प्रतिस्पर्धाबाट सफलता प्राप्त हुनेछ । तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । साथीहरूबाट प्राप्त सुझावले फाइदै पुर्‍याउनेछ । नीलो रंगको अनुसरणले काममा सफलता हासिल गर्न सकिनेछ । आवेशमा गरिएका कामले राम्रो परिणाम नदिन सक्छ ।

कुम्भ
उच्चपदस्थ अधिकारीहरूसँग घनिष्ठ सम्बन्ध भै लाभ प्राप्त गर्न सकिनेछ । शिर तथा आँखासम्बन्धी रोगले धन खर्च गराउने सम्भावना छ । घरायसी व्यवहार गर्दा विशेष होस पुर्‍याउनुहोला । भोज–भतेरमा सहभागी हुँदा आफ्ना बहुमूल्य सरसामानप्रति निगरानी राख्नुपर्नेछ ।


मीन
साता प्रेरणादायक रहनेछ । नौला अवसर सिर्जना भै अनौठो अनुभव गर्न पाइनेछ । नयाँ स्थानको भ्रमण पनि होला । रातो रंग प्रयोग गर्नाले परिणाममुखी नतिजा हात लाग्न सक्छ । रोजगारीको नयाँ क्षेत्रबाट लाभ लिन सकिनेछ । सवारी साधन चलाउँदा होसियारी अपनाउनु पर्नेछ ।

Page 29
यौन जिज्ञासा र समाधान

यौन जिज्ञासा

- डा. राजेन्द्र भद्रा

डीएनए परीक्षण के हो ? यो कसरी गरिन्छ ? यो परीक्षण निजी तवरमा गर्नुपरे कहाँ उपलब्ध हुन्छ ? डीएनए परीक्षण गर्न कति खर्च लाग्छ ?
एस.एन.

तपाईंले किन यो प्रश्न सोध्नुभयो, थाहा भएन । तपाईंले कुन प्रयोजनका लागि परीक्षण गराउन लाग्नुभएको हो त्यसका बारेमा थप जानकारी भएको भए जवाफ दिन केही सजिलो हुने थियो ।

के हो डीएनए जाँच ?
डीएनए अंग्रेजी शब्द म्भयहथ(चष्दयलगअभिष्अ बअष्म को सानो रूप हो । हाम्रो वंशाणुगत गुण बोक्ने हाम्रा कोष केन्द्रमा पाइने क्रोमोजोम यसैबाट बनेका हुन्छन् । हजारौ वंशाणुले यो बनेको हुन्छ र त्यसमा बमभलष्लभ, नगबलष्लभ, अथतयकष्लझ र तजथष्लभ अणुहरू डोरीको केही बेरिएको भर्‍याङजस्तै संरचनामा बसेका हुन्छन् । अहिले यसको व्यवहारिक उपयोगिता निकै भएकाले यो प्रचलित पनि हुँदै गएको छ । अहिले गरिने डीएनए परीक्षण थुप्रै अनुसन्धानपछिको परिमार्जित रुप हो । हालैका दशकमा डीएनए परीक्षण गर्ने प्रविधिमा उल्लेखनीय प्रगति भएको छ र यस किसिमको परीक्षण अनेकन किसिमका समस्या सुल्झाउन प्रयोग गर्न सकिन्छ । सजिलो भाषामा भन्नुपर्दा डीएनए परीक्षणमा दुई जैविक नमुनाका विचमा कत्तिको समानता छ भनेर हेर्नु हो ।

डीएनए परीक्षण कसरी गरिन्छ ?
यो एक अति नै विकसित तथा परिष्कृत परीक्षण हो । सबैभन्दा पहिले परीक्षण गर्न डीएनए भएको वस्तुको नमुना संकलन गर्नुपर्छ । यस्ता नमुनामा केशको केही भाग, छाला, थुक, शरीरमा लगाइएको लुगा वा अन्य वस्तुमा शरीरबाट निस्किएको तरल पदार्थ सुकेकै अवस्थामा भए पनि, मुख वा गालाको भित्री भागवाट निकालिएको कधबद, शरीरका अङ्ग–प्रत्यङ्गको कुनै पनि भाग हुन सक्छन् । यस्ता नमुनाका आधारमा खोजिएको वा जाँच गरिएको व्यक्तिसम्म पुग्न सकिन्छ । त्यसपछि प्रयोगशालामा परीक्षण गरिन्छ । यसमा प्रशस्त सावधानी अपनाउनुपर्ने हुन्छ । डीएनएको नमुनाबाट कोषिका निकालिन्छ, उक्त कोशिकाबाट डीएनए नमुनालाई शुद्धीकरण गरिन्छ, डीएनएको रेसाको विभिन्न भागबाट लिइएका पृथकीकरण गर्ने र नतिजालाई विश्लेषण गर्ने कार्य गरिन्छ । नतिजाप्रति ढुक्क हुन यो प्रक्रिया पुनः दोहोर्‍याइन्छ अनि अन्तिम चरणमा डीएनए परीक्षणको नतिजाको प्रतिवेदन तयार पारिन्छ । उक्त प्रतिवेदनमा जुन उद्देश्यका लागि डीएनए परीक्षण गरिएको हो त्यसैअनुरूपको निष्कर्ष दिइन्छ ।

डीएनए परीक्षण के–कस्ता कुरामा गर्न सकिन्छ ?
प्रत्येक जीवका केही विशिष्ट गुण हुन्छन् ती कुनै सूक्ष्म जीव हुन्् वा कुनै जनावर वा कुनै मानिस । डीएनए परीक्षण गर्दा विशिष्ट गुणको स्वरूप पत्ता लगाउने प्रयास गरिन्छ । यसको व्यापकताले अहिले सबैजसो क्षेत्रलाई छोएको छ ।Forensic अनुसन्धान, पितृत्व परीक्षण तथा अन्य जैविक अनुसन्धानमा यसका अनेक उपयोगिता छन् । मानवदेखि वन्यजन्तुसम्म कुन जाति–प्रजाति कसरी फैलिएर बसेका छ्न् वा कोसँग वंशाणुगत रूपमा बढी नजिक छन् भन्ने कुरा थाहा पाउन सकिन्छ । यसले रक्त सम्बन्धका बारेमा ठोस आधार प्रदान गर्छ । कुन व्यक्तिको सन्तान को हो ? कुनै माता–पिता वा सन्तान हराएको स्थितिमा पत्ता लागेपछि ठोस रुपमा ऊ नै हो भनेर पक्का गर्न सहयोग मिल्छ । चिकित्सा विज्ञानमा यो प्रविधि अङ्ग प्रत्यारोपणमा कत्तिको समानता छ भनेर हेर्नसमेत गर्न सकिन्छ ।

किन परीक्षण गराउन चाहनुभएको ?
डीएनए परीक्षण कुनै शिशुको पिता को हो ? भनेर पत्ता लगाउन निकै भरपर्दो भएकाले यस किसिमको परीक्षणको माग संसारभर बढेको पाइन्छ । यो परीक्षणका लागि सामान्यतः आमा, शिशु तथा संदिग्ध पिता भनेर आरोप लगाइएको व्यक्तिको परीक्षण गरिन्छ ।
तपाईले किन यो परीक्षण गराउन चाहनुभयो, थाहा भएन । यदि श्रीमतीबाट जन्मिएको शिशुलाई आफ्नो मान्न तयार हुनुहुन्न वा मनमा शंका भएकाले यस्तो परीक्षण गराउने विचार गर्नुभएको हो भने केही कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । तपाईंले शंका गर्नुपर्ने आधार कत्तिको वैज्ञानिक छ भन्ने कुरामा धेरै विचार गर्नुपर्छ । गर्भ अवधिमा आउन सक्ने विविधता तथा जन्मदा शिशुको स्थितिलाई विचार गर्नुपर्ने हुन्छ । यदि ती सबै कुरा ठीक छन् भने आफ्नी श्रीमतीको व्यवहार विचार गर्नुपर्ने हुन्छ । निश्चित रूपमा कुनै आधार नभै त्यसै शंका गर्नु भनेको नभएको समस्या निम्त्याउनु हो । एकपल्ट सोच्नुहोस् त, तपाईंले अनावश्यक रुपमा शंका गर्नुहुन्छ भन्ने कुरा तपाईंकी श्रीमतीले थाहा पाउँदा कति नरमाइलो मान्नुहोला ।

डीएनए परीक्षण कहाँ गर्न सकिएला र कति खर्च लाग्ला ?
नेपालको सन्दर्भमा डीएनए परीक्षण राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, प्र्रहरी, नेसनल फरेन्सिक प्रयोगशालाजस्ता विशिष्टिकृत प्रयोगशालामा गरिन्छ । रगतको परीक्षणमा यस्तै ८ हजार लाग्छ भने अन्य तन्तुको परीक्षणमा बढी खर्च लाग्छ । पक्का रूपमा कति खर्च लाग्छ भन्ने कुरा प्रयोगशालामै बुझ्नु मनासिव होला ।

यौन जिज्ञासा र समाधान

लभ बाइट्सका रोमाञ्चक पक्ष

- साप्ताहिक संवाददाता

लभ बाइट्स समर्पित प्रेमको पहिचान हो । यो आफू र आफ्ना प्रिय–प्रियसीबीचको रोमाञ्चक क्षणको साक्षी हो । यसले संसारलाई आफूहरूबीचको प्रगाढताका बारेमा जानकारी दिन्छ । धेरैजसो मानिस आफ्नो निजी जीवनलाई सार्वजनिक गर्न चाहँदैनन्, त्यसैले उनीहरू आफ्नो लभ बाइट्स लुकाउँछन् । यद्यपि यो दुई प्रेमीबीचको रोमान्सको अनुपम क्षण हो, जसका लागि कसैले पनि असहज महसुस गर्नु पर्दैन ।

कसरी बन्छ लभ बाइट
मानव शरीरको गर्दन, छाती, काँध र जाँघको भित्री हिस्सा अत्यन्त संवेदनशील हुन्छ । यदि ती स्थानमा अत्यधिक दबाब दिइयो भने दबाबका कारण कोशिकाहरू प्रभावित हुन पुग्छन् र त्यहाँ डाम बस्छ । यस्ता लभ बाइट बन्नुको कारण ती स्थानका रक्त कोशिका प्रभावित हुनु हो ।

कसरी दिने परफेक्ट लभ बाइट
परफेक्ट लभ बाइटका लागि केही मेहनत गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले फोरप्लेबाट आफ्नो साथीलाई उत्तेजित गराउनुपर्छ । त्यसबीच लभ बाइट कुन स्थानमा दिने निर्णय गर्नुपर्छ । यदि लभ बाइट लुकाउन चाहने हो भने छाती वा काँध उपयुक्त स्थान हुन्छ तर कुनै समस्या छैन भने लभ बाइटका लागि सबैभन्दा उचित स्थान गर्दन हो ।

रोचक कुरा
- लभ बाइट दुई सातासम्म रहन सक्छ । यस विषयमा गरिएको अनुसन्धान अनुसार यसको प्रभाव कति समयसम्म रहन्छ भन्ने कुरा यो कति गहनताका साथ गरिएको हो र यौनसाथीको स्वास्थ्य स्थिति कस्तो छ भन्ने कुरामा निर्भर रहन्छ ।
- यदि हल्का दबाब वा घर्षणले शरीरमा नीलो वा कालो दाग बस्छ भने यसले शरीरमा रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्सको कमी छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसबाहेक जसको शरीरमा आइरनको कमी हुन्छ उसको शरीरमा पनि छिट्टै लभ बाइट बस्छ ।
- वात्स्यायनले कामसूत्रमा आठ प्रकारका लभ बाइट्सका बारेमा उल्लेख गरेका छन् ।
- अधिकांश व्यक्ति लभ बाइट लुकाउन चाहन्छन्, तर यसको प्रभाव हटाउन केही समय लाग्छ । त्यसको कारण लभ बाइट्सको प्रभाव छालाको बाहिरी हिस्सामा नभै भित्री हिस्सामा समेत उपस्थित हुनु हो ।

यौन जिज्ञासा र समाधान

किन यस्तो ?

- साप्ताहिक संवाददाता

सामान्यतः के देखिन्छ भने यौन सम्पर्कपछि महिलाहरू आफ््नो यौन साथीसँग चल्ने जिस्कने कुरामा रुचि राख्छन् र त्यसका लागि पहल पनि गर्छन् । उनीहरू आफ्नो यौन साथीसँग रमाइला तथा मीठा कुराकानी गर्न चाहन्छन् । त्यसको ठीक विपरीत अधिकांश पुरुष तत्कालै कोल्टे फर्केर निदाउने प्रयास गर्छन् । त्यस्तो अवस्थामा अधिकांश महिला के सोच्छन् भने लोग्ने मानिसहरू स्वार्थी हुन्छन् । यद्यपि पुरुषहरूको यस्तो व्यवहारका पछाडि केही बायोलोजिकल कारण भएको एक अध्ययनले देखाएको छ ।
यौनसम्पर्कपछि अधिकांश पुरुषले सुत्ने कुरालाई प्राथमिकता दिनु मिथकीय धारणाबाट धेरै टाढा छ । एक अध्ययनअनुसार यौन सम्पर्कपछि अधिकांश पुरुषले निकै थाकेको अनुभव गर्छन् र उनीहरू निदाउन थाल्छन् । यसको कारण के हो भने यौन सम्पर्कका बेला पुरुषको शरीरबाट धेरै किसिमका हार्मोन्स तथा रसायन प्रवाहित हुन्छन् जसले उनीहरूलाई निदाउन प्रेरित गर्छन् । यौन सम्पर्कका बेला चरम उत्कर्षमा पुग्दा अधिकांश पुरुषलाई चरम आनन्दको अनुभव हुन्छ र त्यतिबेला उनीहरूको शरीरबाट प्रोलेक्टिन नामक रसायन प्रवाहित हुन थाल्छ जसका कारण उनीहरूलाई निद्राले च्याप्छ । यस्तो अवस्थाबाट जोगिन पुरुषहरूले डोपामाइन नामक औषधी प्रयोग गर्नुपर्ने हुन्छ । डोपामाइन एक किसिमको मुड बुस्टर जस्तै हो, जसले प्रोलेक्टिनको प्रभावलाई कम गर्छ ।
चरम उत्कर्षका बेला देखापर्ने तनाव तथा श्रमका कारण शरीरमा उर्जा उत्पादन गर्ने रसायन ग्लाइकोजनमा कमी आउन थाल्छ । यो कारणले पनि यौन सम्पर्क पछि पुरुषहरू निदाउन थाल्छन् । पुरुषको शरीरमा भएको मांसपेशीको घनत्व महिलाहरूको तुलनामा बढी हुने हुँदा यौन सम्पर्कपछि उनीहरू चाँडै थाक्ने विशेषज्ञहरू बताउँछन् ।

Page 30
खेलकुद

अलिकति विश्वास अलिकति शंका

- साप्ताहिक संवाददाता

भारतले सागका लागि निकै सानो टिम पठाउन सक्छ । भारतको रुचि यसपटकको प्रतियोगितामा निकै कम छ । अझ भारत र पाकिस्तानले प्रमुख–प्रमुख खेलमा सहभागिता जनाउने सम्भावना पनि कम भएको बताइन्छ । यी सबै समाचारदेखि हल्लासम्मको निश्चित आकार त्यति बेला देखिनेछ, जति बेला दक्षिण एसियाली ओलम्पिक कमिटीसँग आवद्ध सबै देशका प्रतिनिधि काठमाडौं आएर बैठक बस्नेछन् । उक्त बैठक आज कात्तिक २२ गते प्रारम्भ हुँदैछ जुन चार दिन चल्नेछ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालदेखि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसम्मका कुरा सुन्नुपर्छ— १३ औं दक्षिण एसियाली खेलकुद (साग) समयमै हुने पक्का विश्वास हुन्छ । विशेषतः सदस्य सचिव सिलवाल यही कुरालाई लिएर खुबै व्यस्त देखिन्छन् । भन्नै पर्छ, उनले युद्धस्तरमा काम गरिरहेका छन् । उनको दौडधूप बिहानदेखि राति अबेरसम्म चलिरहेको पाइन्छ । प्रतियोगितामा सहभागी हुने नेपाली टिमको तयारी पनि जोडतोडमा छ ।
यद्यपि प्रतियोगिता सुरु हुने समय अझै पनि तीन साताको हाराहारीमा बाँकी हुँदा साग हुन्छ नै भन्नेमा कतिपय विश्वास अनि कतिपय शंका बाँकी नै छ । नेपालले आयोजनाका लागि आँट्न मिल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै यही साग हो । यसको १३ औं संस्करण तय मितिअनुसार भयो भने मंसिर १५ देखि २४ गतेसम्म चल्नेछ । प्रतियोगिता यसपटक काठमाडौंमै मात्र सीमित हुने छैन्, पोखरा र जनकपुरमा पनि चल्नेछ । यस्तोमा सबैभन्दा बढी चासो आयोजनाको तयारीमा हुनु स्वभाविक हो ।
प्रत्येक दिन कुनै न कुनै नयाँ समाचार आइरहेको छ । जस्तो, प्रतियोगितामा सहभागी देशको संख्या बढेर ८ पुग्ने भनिएको छ । स्वंय ओलम्पिक कमिटीले पुष्टि गर्न नसके पनि अफगानिस्तानले यो प्रतियोगितामा भाग लिने निश्चित भएको बताइन्छ । खेलकुदमा दक्षिण एसिया छाडेको अफगानिस्तानले पछिल्लो सागमा सहभागिता जनाएको थिएन, तर यसपटक एसियाली ओलम्पिक कमिटीले नै अफगानिस्तानलाई सागमा सहभागी हुन अनुरोध गरेको छ ।
यता भारतले सागका लागि निकै सानो टिम पठाउन सक्छ । भारतको रुचि यसपटकको प्रतियोगितामा निकै कम छ । त्यति मात्र होइन, सहभागी टिमको संख्या नपुग हुँदा प्याराग्लाइडिङ नै नहुने सम्भावना पनि त्यत्तिकै छ । अझ भारत र पाकिस्तानले प्रमुख–प्रमुख खेलमा सहभागिता जनाउने सम्भावना पनि कम भएको बताइन्छ । यी सबै समाचारदेखि हल्लासम्मको निश्चित आकार त्यति बेला देखिनेछ, जति बेला दक्षिण एसियाली ओलम्पिक कमिटीसँग आवद्ध सबै देशका प्रतिनिधि काठमाडौं आएर बैठक बस्नेछन् । यी कुरामा त्यही बैठकले अन्तिम निर्णय लिनेछ । उक्त बैठक आज कात्तिक २२ गते प्रारम्भ हुँदैछ जुन चार दिन चल्नेछ । यही बैठकपछि सागले वास्तविक गति लिनेछ, तर फेरि एकपटक सदस्य सचिव सिलवालकै भनाइ सापटी लिने हो भने आयोजनाको तयारी अन्तिम चरणमा छ । त्यसैले साग हुन्छ कि हुँदैन भनेर दुई मन गरिरहनु पर्दैन । सिलवालका अनुसार खेलाडी तयारी त शतप्रतिशत नै छ, कात्तिकको मसान्तसम्ममा भौतिक पूर्वाधारको काम पनि लगभग सम्पन्न हुनेछ ।
प्रतियोगिताको उद्घाटन र समापन हुने दशरथ रंगशालामै निर्माण कार्य पूरा भैसकेको छैन । सबैभन्दा बढी डर दशरथ रंगशालामै छ । अहिले तत्काल रंगशालाको साधारण प्यारापिटमा सिट हाल्ने काम भैरहेको छ । सिन्थेटिक ट्र्याकको काम भने सम्पन्न भैसकेको छ । भीआईपी प्यारापिटमा छानो हाल्ने काम भने अझै हुन सकेको छैन् । चीनबाट रंगशालाको छानो कार्गो गरेर भएपनि ल्याउने तयारी चलिरहेको छ ।
छानो चीनको सेन्जेनमा अड्किएर बसेको छ । मैदानमै पनि धेरै काम बाँकी देखिन्छ । लगभग अरू सबै खेल स्थल पनि शतप्रतिशत तयारी अवस्थामा छैनन् । सहभागी हुने टिम तथा खेलाडीको तयारी भने तीव्र गतिमा चलिरहेको छ । असारको दोस्रो सातादेखि नै बन्द प्रशिक्षण सुरु भएको हो । लगभग १५ खेलको अन्तिम टिम छनोट भैसकेको छ भने अरू १२ खेल यही चरणमा पुग्ने क्रममा छन् । कात्तिक २५ भित्रमा अन्तिम छनोट भैसक्नुपर्नेछ ।
तयारीको सबैभन्दा उल्लेखनीय पक्ष अधिकांश टिमले वैदेशिक प्रशिक्षणको अवसर पाउनु हो, जसमा परिषद्ले कुनै कन्जुस्याइँ गरेको छैन । अहिले तत्काल १६ टिम वैदेशिक प्रशिक्षणमा छन् भने केही खेलले चाँडै त्यस्तो अवसर प्राप्त गर्नेछन् । खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पनि अब प्रतियोगिता समयमै हुने कुरामा शंका नगर्न भनेका छन् । विश्वास गरौं, मन्त्रीदेखि सदस्य सचिवसम्मले आफ्नो वचन राख्नेछन् र नेपालको प्रतिष्ठासँग गाँसिएको यो प्रतियोगिता समयमै हुनेछ ।

खेलकुद

विराटनगरमा दंगल

- साप्ताहिक संवाददाता

पाकेको धान थन्काएकाले अहिले जमिन बाँझो छ । यसरी खाली भएका खेतमा करिब ५ फिट अग्लो माटोको ढिस्को बनाएर गोलो घेरा हालिएको छ जहाँ नेपाल तथा भारतका ६५ जना पहलमान एक–अर्कालाई उत्तानो पार्ने खेलमा मस्त छन् । विराटनगर–१८ बुधनगरमा भएको उक्त तीन दिने अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा पहलमानहरूले देखाएको कुशलताबाट दर्शकहरूले भरपुर मनोरञ्जन प्राप्त गरे । लोप हुँदै गएको दंगल कुस्ती हेर्ने कुरामा बालवालिका, युवादेखि वृद्धवृद्धासम्ममा राम्रै क्रेज देखियो ।
यो प्रतियोगितामा भारतका ४० तथा नेपालका २५ जना पहलमान सहभागी थिए । स्थानीय युवाहरूले आयोजना गरेको उक्त प्रतियोगितामा नवलपरासीका देवु थापा एवं वसन्त थापा प्रथम तथा द्वितीय भए ।
लोप हुँदै गएको दंगल कुस्तीको संरक्षण गर्नुका साथै खेलाडीहरूको शारीरिक विकाससँगै नेपाल तथा भारतका खेलाडीबीचको आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ आयोजित कुस्ती प्रतियोगितामा ७५ केजी देखि १ सय १० केजीसम्मका पहलमानको उपस्थिति थियो । यो प्रतियोगितामा भारतका दुई जना महिला पहलमान पनि सहभागी थिए । मौलिक परम्पराअनुसार आयोजना गरिएको यो कुस्ती प्रतियोगिताका सहभागीहरूलाई परम्परागत रुपमा ढोल बजाएर उत्साहित गरिएको थियो । नवलपरासीका पहलमान वसन्त थापा तथा भारतका प्रतिस्पर्धीबीच भएको कुस्तीले दर्शकहरूलाई विशेष रूपमा रोमान्चित तुल्यायो । तीन दिन चलेको उक्त कुस्ती प्रतियोगिता हेर्ने दर्शकको भीड थेगिनसक्नु थियो । प्रतियोगिता आयोजक समितिका अध्यक्ष रवीन्द्रकुमार दासका अनुसार दैनिक ५ हजार मानिसले यो कुस्ती प्रतियोगिता हेरेका थिए भने फाइनलमा अझ ठूलो भीड जुटेको थियो ।


Page 31
मैदान बाहिर

रिजेक्ट भएका ज्ञानेन्द्र

- साप्ताहिक संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त भएयता ज्ञानेन्द्र मल्ललाई बधाईको ओइरो लागिरहेको छ । मिडियालाई अन्तर्वार्ता दिंदा–दिंदा पनि थाकिसकेका होलान् उनी । यसक्रममा ज्ञानेन्द्रसम्बन्धी केही पुराना तथ्य पनि बाहिर आएका छन् । त्यसमध्ये एउटा यस्तो घटना अगाडि आएको छ, जुन पूरा हुन नसक्दा नेपाली क्रिकेटलाई फाइदा नै पुगेको छ । सन् २०१२ को भन्दा अघि ज्ञानेन्द्र नाम चलेका खेलाडी त भैसकेका थिए, तर आम्दानी भने थिएन । निरन्तर क्रिकेट पनि भैरहेको थिएन । यस्तोमा उनीमाथि परिवारबाटै चर्को दबाब परेको थियो, विदेश जान । ज्ञानेन्द्रले अस्ट्रेलिया जान भिसा अप्लाई समेत गरेका थिए । डिपेन्डेन्ट भएर उता लाग्ने सोच थियो उनको । यद्यपि उनी रिजेक्ट भए । त्यो घटना उनका लागि अप्रत्याशित थियो । त्यति बेला भिसा पाएको भए, अहिले उनी नेपालमा हुने थिएनन् । अनि हुने थिएनन्, नेपाली टिमका कप्तान पनि, उनको भाग्यमा अस्ट्रेलिया जान लेखिएको थिएन । त्यसैले ज्ञानेन्द्र भन्न थालेका छन्— त्यति बेला जे भयो, राम्रै भयो ।

मैदान बाहिर

पारसको जन्मदिन

- साप्ताहिक संवाददाता

पारस खड्काले क्रिकेट खेल्दा उनको जर्सिको नम्बर हुन्छ— ७७ । यसको अर्थ के होला त ? पारसको जन्म कात्तिक ७ गते भएको हो । कात्तिक वर्षको सातौं महिना हो । त्यस अर्थमा महिना र गतेको प्रतिनिधित्व गर्दै उनले दुई ७ अर्थात् ७७ लाई आफ्नो जर्सी नम्बर बनाएका हुन् । हालै मात्र उनले जन्मदिन मनाए र यो यसअघिका जन्मदिनभन्दा फरक रह्यो । पारसको जन्म दिनमा कीर्तिपुरमा पहिलो पटक आयोजित वुमेन्स च्याम्पियन लिग क्रिकेटको फाइनल थियो । त्यसको आयोजक क्विक्स इभेन्ट्स म्यानेजमेन्टमा खड्का स्वयं पनि आबद्ध छन् । त्यसैले उनी पूरा दिन त्रिभुवन विश्वविद्यालयको मैदानमै व्यस्त रहे । फाइनल सकिएपछि पारसले महिला क्रिकेट खेलाडीहरूसँगै बसेर आफ्नो जन्मदिन मनाए ।

मैदान बाहिर

संगीतको धुनमा अभ्यास

- साप्ताहिक संवाददाता
तस्बिर  : राजाराम पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण केसी आफ्नो खेल कौशलमा सुधार ल्याउन संगीतको शरणमा पुगेका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा संगीतको धुनमा नियमित अभ्यास गरिरहेका करण आफ्नो फिटनेसप्रति सजग छन् । प्रायः एक्लै अभ्यास गर्ने बानीका करणले यतिबेला संगीतलाई आफ्नो साथी बनाएका हुन् । संगीतको धुन सुन्दै करणले जगिङ र अभ्यास गरेको दृश्यले यतिबेला उक्त मैदानमा अभ्यास गर्न पुग्ने नयाँ पुस्ता समेत हौसिएको छ । पोखराको क्रिकेट मैदान करणको गृह मैदान हो ।

 

मैदान बाहिर

अनिताको कमाल

- साप्ताहिक संवाददाता

फेन्सिङ अर्थात् तरबारबाजी ओलम्पिक इतिहासमा निकै पुरानो खेल हो, तलबारबाजी उत्तिकै लोकप्रिय पनि छ भन्दा फरक पर्दैन, तर यही खेल नेपालका लागि नयाँ हो अर्थात् भर्खर–भर्खर भित्रिएको खेल हो । वास्तवमै यो खेल के हो र यसका नियम के–के हुन् ? नबुझ्ने पनि उत्तिकै छन् । यद्यपि यही खेलबाट नेपालले खुसीको समाचार पाएको छ र हुन सक्छ, आउने दिनमा यो खेल नेपालमा लोकप्रियसमेत हुनेछ । समाचारअनुसार नेपालकी अनिता कार्कीले थाइल्यान्डको बैंककमा सम्पन्न सीयू ओपन फेन्सिङ च्याम्पियनसिपसमा कांस्य पदक जितेकी छिन् । नेपालले यो खेलमा जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो, तसर्थ यसको छुट्टै ऐतिहासिक महत्व छ ।

मैदान बाहिर

भाग्यमानी सान्टु

- साप्ताहिक संवाददाता

नेपालका नम्बर एक पुरुष टेबल टेनिस खेलाडी हुन्— सान्टु श्रेष्ठ । उनी १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने नेपाली राष्ट्रिय टेबल टेनिसका लागि छनौटसमेत भैसकेका छन् । भाग्यमानी सान्टु अन्तिम समयमा आएर छनौट भएका हुन् । त्यसअघिसम्म तय जस्तै देखिएको थियो, उनले यसपटक नेपालका लागि दक्षिण एसियाली खेलकुद खेल्न पाउने छैनन् । खासमा भएको के थियो भने केही साताअघि मात्र उनी सानो दुर्घटनामा परेका थिए र त्यसले उनको खेलमा केही दिनका लागि विराम लगाइदिएको थियो । मोटरसाइकल दुर्घटनामा परेपछि उनी केही दिन आराम गर्न बाध्य भए र झन्डै–झन्डै दक्षिण एसियाली खेलकुद पनि गुमाउनु पुगेका थिए । यद्यपि त्यसका लागि सान्टुको छनौट भएपछि उनलाई भाग्यमानी नभने कसलाई भन्ने ? सान्टुको सबैभन्दा ठूलो सपना नै दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउनु हो ।

मैदान बाहिर

रंगशालामा फर्कंदै फुटबल

- साप्ताहिक संवाददाता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल नभएको पनि धेरै भयो । भुकम्पयता त्यहाँ फुटबल हुन सकेको छैन । अब लामो प्रतीक्षापछि नेपाली फुटबल प्रेमीले त्यहाँ खेल हेर्न पाउनेछन् । अवसर हो— मंसिर ३ मा हुने नेपाल र कुवेतबीचको एसियाली छनौट खेल । त्यसका लागि अहिले धमाधम तयारी चल्दैछ । त्यसो त आसन्न दक्षिण एसियाली खेलकुदका लागि पनि दशरथ रंगशालाको पुनर्निर्माण चलिरहेको छ । त्यसको पहिलो परीक्षण भने यही प्रतिस्पर्धाबाट हुनेछ । एसियाली फुटबलकै महाशक्ति कुवेतले नेपालको सामना गर्दा दशरथ रंगशालामा हुने खेल फ्लड लाइट्समा हुनेछ । भनिरहनु पर्दैन, त्यो दिन नेपाली फुटबलका लागि विशेष हुनेछ ।

 

Page 32
जाँदा–जाँदै

मञ्चमा आफैंलाई बिर्सिएँ

- साप्ताहिक संवाददाता

जङ्कोट, रोल्पाका शनि विश्वकर्मा केही हप्ताअघि नेपाल लोकस्टार शीर्षकको लोकगायन रियालिटी शोको विजेता घोषित भए । सुमधुर स्वरका धनी शनि भर्खरै १७ वर्ष पुगेका छन् । विश्वकर्मासँग लोकस्टारसम्मको यात्रा, संघर्ष र पहिलो लोकस्टार बन्दाको अनुभवजस्ता विषयमा केन्द्रित रहेर साप्ताहिकर्मी महेश तिमल्सिनाले गरेको कुराकानी :


पहिलो लोकस्टार भएपछि कस्तो अनुभव गरिरहनुभएको छ ?
खुसी लागिरहेको छ । पहिलो पटक यति ठूलो रियालिटी शोको विजेता बन्दाको खुसी व्यक्त गर्न मसँग कुनै शब्द छैनन् ।

लोकस्टारसम्म कसरी पुग्नुभयो ?
म कक्षा १२ को परीक्षा सकेर बसेको थिएँ । यही क्रममा मलाई अंकल दुर्लभ केसीले दाङबाट फोन गरेर बाबु लोकस्टार खुलेको छ, तिमीले त्यसमा भाग लिन गए राम्रो हुन्छ भन्नुभयो । मैले पनि लोकस्टारमा सहभागिता जनाउने निधो गरें । त्यसपछि सबै तयारी पूरा गरी काठमाडौं आएर अडिसन दिएँ ।

लोकस्टारको मञ्चको सुरुको दिनलाई कसरी स्मरण गर्नुहुन्छ ?
सुरुमा गेटभित्र छिर्दा निकै डर लागेको थियो । अडिसन दिन आएका धेरै प्रतिस्पर्धी विभिन्न पोसाकमा सजिएर आएका थिए, तर म भने क्याजुअल नै गएको थिएँ । त्यहाँ एउटा ग्रुपमा पाँच जना प्रतियोगी थिए । यही क्रममा मेरो पालो आयो । पहिलो पटक मञ्चमा उभिँदा एकदमै डर लागेको थियो । त्यसपछि मैले स्केल मागेर ‘तिरिरी मुरली बज्यो वनैमा...’ गाएँ । त्यो गीत गाउने क्रममा छनौट हुन्छु कि हुन्न भन्ने खुलदुली मनमा थियो । गीत गाइसकेपछि स्क्रिनमा रिजल्ट आउने बेलासम्म कुर्दा निकै आत्तिएको थिएँ । रिजल्ट आयो, त्यो पनि २० वटा तारा अर्थात् गोल्डेन स्टारका रूपमा । गोल्डेन स्टार प्राप्त गरेपछि म सीधै टप २० मा पुगेँ । त्यसपछि मेरो खुसीको सीमा रहेन, यतिसम्म कि मञ्चमा मैले आफैंलाई बिर्सिएछु ।

गोल्डेन स्टार भैसकेपछि विजेता हुन्छु भन्ने सोच्नुभएको थियो ?
थिइनँ, टप २० मा छनौट हुँदा अब माथिल्लो चरणमा कसरी उक्लिने भनेर सोच्थें तर विजेता नै हुन्छु भन्ने लागेको थिएन ।

माथिल्लो चरणमा जाने तयारी कसरी गर्नुभयो ?
गोल्डेन स्टार भैसकेपछि ममाथि थप चुनौती थपिएको थियो । अब त केही गर्नुपर्छ भनेर सक्ने जति मेहनत गरें । गुरुसँग सिकें, साथीहरूसँग पनि ग्रुपमा सिक्थें । यसरी नै तयारी गर्थें ।

काठमाडौं बसाइमा तपाईंको रुममेट को थियो ?
सुरुमा पविन्द्र सुनार हुनुहुन्थ्यो । दुई–तीन हप्तापछि परिवर्तन भएर रविराज शाह थपिनुभयो । त्यसपछि प्रतिस्पर्धीहरू फेरिँदै जाँदा कोठा पनि फेरिँदै गयो । त्यसपछि चेतन गोतामे र प्रभुराज पाण्डेसँग बस्न थालें । टप ५ पछि भने एक्लै बसें ।

लोकस्टारमा विजेता भएर ५० लाख रुपैयाँ जित्नुभएको छ, केमा उपयोग गर्नुहुन्छ ?
यो मेरो व्यक्तिगत पुरस्कार अथवा जित नभएर मेरा सबै समर्थकको जित हो । उहाँहरूले दिएको माया पनि यसैमा भएकाले म यो पैसा सांगीतिक करियरमै लगानी गर्छु ।

लोकस्टार बनेर गाउँ पुग्दा गाउँको वातावरण कस्तो थियो ?
मैले अपेक्षा गरेभन्दा फरक थियो । पहिले गरिने व्यवहार र अहिलेको व्यवहारमा निकै फरक पाएँ । गाउँका बूढाबूढी, अधबैंसे, केटाकेटी सबै जना भेला भएर बधाई दिनुभयो । पहिले एउटा गाउँठाउँको मात्र शनि थियो, तर अहिले देशको शनि भएको छ भन्दै सबैले आफ्नो छोरा, नाति, दाजुभाइजस्तो मानेर माया अनि आशीर्वाद दिनुभयो ।

लोकस्टारबाट तपाईंले सिकेको कुरा के हो ?
धेरै कुरा सिकें । त्यहाँ मैले नजानेको कुरा सिक्ने अवसर पाएँ । पहिले मलाई निर्धक्क भएर बोल्न गाह्रो हुन्थ्यो, तर लोकस्टारमा गएपछि मेरो बोल्ने शैलीमा परिपक्वता आएको छ, साथै स्टेजमा कसरी प्रस्तुत हुने भन्ने कुरा पनि सिकें । पहिले गाउँका मेलापर्वमा गीत गाउँदा निकै डर लाग्थ्यो, तर लोकस्टारले मेरो त्यो डर भगाइदियो ।

तपाईंको परिवारमा को–को हुनुहुन्छ ?
बुबा–ममी, दाइ, दिदी र म ।

कक्षा १२ उत्तीर्ण हुनुभयो, अब स्नातक तह कहाँ पढ्ने ?
स्नातक तह त काठमाडौंमै पढ्छु, तर कुन कलेज पढ्छु भन्ने कुरा यकिन गरिसकेको छैन ।

तपाईंलाई कुन विधाको संगीत मन पर्छ ?
सबै मन पर्छ, विशेष गरी लोकगीत नै बढी मन पर्छ ।

जाँदा–जाँदै

मिस इन्टरनेनसल २०१९ को दौडमा

- साप्ताहिक संवाददाता

जापानको टोकियोमा नेपाल लगायत विश्वका ८३ मुलुकका सुन्दरीहरू ५९ औं संस्करणको मिस इन्टरनेसनल–२०१९ को मुख्य उपाधि जित्ने होडमा छन् । यही उपाधि दौडमा छिन् नेपालकी मीरा कक्षपति । भक्तपुर निवासी २४ वर्षीया मिराले मिस नेपाल–०१९ को फाइनलमा मिस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि जितेपछि मिस इन्टरनेनसल–२०१९ मा सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । फ्रिलान्स एमसीका रूपमा सुपरिचित मीरासँग टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा काम गरेको अनुभव पनि छ । ५ फिट ४ इन्च अग्ली मीरालाई अध्ययन तथा भ्रमणमा रुचि छ भने उनले गोल्डेन गेट इन्टरनेसनल कलेजबाट उच्च शिक्षा पूरा गरेकी हुन् । मिस इन्टरनेनसल–२०१९ को अन्तिम प्रतिस्पर्धा यही नोभेम्बर १२ का दिन टोकियोको वुन्क्यो जिल्लास्थित टोकियो डोम सिटी हलमा सञ्चालन हुनेछ ।