You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 2
जुम इन

नासाबाट सम्मानित

- साप्ताहिक संवाददाता

धनुषाकी डा.रश्मी साह अमेरिकी अन्तरिक्ष संस्था नासाको जेल प्रोपल्सन ल्याबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रूपमा कार्यरत छिन् । डा. साहलाई नासाले करिअर पब्लिक अचिभमेन्टबाट सम्मानित गरेको छ । रश्मीले सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स तथा एस्ट्रोनोटिक्समा पीएचडी गरेकी थिइन् । नासाको विश्वव्यापी मिसनका लागि ५ वर्षदेखि अत्यन्तै महत्वपूर्ण तथा असामान्य योगदान पुर्‍याएका कारण उनलाई यो पुरस्कार प्रदान गरिएको बताइएको छ । नासामा कार्यरत जोकोही पनि प्रायः १० वर्षको अवधिमा मात्र यस्तो अवार्डबाट सम्मानित हुन्छन् तर रश्मीले छोटो समयमै यो अवार्ड प्राप्त गरेपछि उनको चर्चा चुलिएको छ । रश्मीले आद्रभूमि, माटोको मोस्चर मापन, हिउँको गहिराइ तथा समुद्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएकी छिन् ।

जुम इन

भर्ताङको अर्गानिक स्याउ

- साप्ताहिक संवाददाता

काठमाडौंमा मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउको व्यवसायिक कारोबार सुरु भएको छ । एग्रो मनाङले उत्पादन गरेको ‘हिमालयन फ्रेस’ ब्रान्डको मनाङको उक्त स्याऊको आधिकारिक वित्रेता जिके एन्ड सन्स एग्रो हो । मनाङबाट आइपुगेको स्याउ कोल्ड स्टोरमा राखेर मागअनुसार बजारमा पुर्‍याइने गरेको छ । जिकेसँग लिएर काठमाडौंमा भाटभटेनी, बिगमार्ट आदि डिपार्टमेन्ट स्टोरले ठूलो परिणाममा स्याउ बिक्री गर्ने गरेका छन् ।
एक महिनाको अवधिमा काठमाडौंमा मात्र ८ टन स्याउ बिक्री भएको जिकेका प्रमुख गणेश चालिसेले बताए । उनका अनुसार कोल्ड स्टोरबाटै दैनिक १ लाख रुपैयाँको स्याउ बिक्री भैरहेको छ भने मागअनुसार घरघरमै पुर्‍याउने व्यवस्थासमेत गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा उत्पादन भएको तथा कुनै पनि विषादी प्रयोग नगरिएकाले यो स्याउको माग अपेक्षाभन्दा राम्रो भएको चालिसे बताउँछन् । समुद्री सतहभन्दा २५ सयदेखि ३ हजार मिटर उचाइमा उत्पादित यो स्याउ अन्य स्याउको तुलनामा रसिलो र स्वादिलो हुने भएकाले यसको माग उच्च रहेको चालिसेको दाबी छ ।
एग्रो मनाङले भार्ताङमा ७ सय ३५ रोपनीमा गरेको स्याउ फर्म दक्षिण एसियाकै ठूलो मानिन्छ । यो वर्ष त्यहाँ थप १ लाख स्याउका विरुवा रोप्ने तयारी भैरहेको छ ।

जुम इन

देशकै होचो भएको दाबी

- नरेन्द्र बस्नेत

विराटनगर–१९ का २१ वर्षीय प्रकाशकुमार सरदारको उचाइ ३१ इन्च अर्थात् २ फुट ७ इन्च मात्र छ । झट्ट हेर्दा दूधेबालकजस्ता देखिने प्रकाशकुमार सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट वि.सं २०५४ साल असार २ गते जन्ममितिका आधारमा नागरिकता बनाएका छन् । वि.सं. २०६८ साल फागुन १४ गते दाङका चन्द्रबहादुर डाँगीले विश्वका होचो व्यक्तिको प्रमाणपत्र पाएका थिए । २१ दशमलव ५ इन्चका डाँगीको ७३ वर्षको उमेरमा मृत्यु भएको थियो । जीउ सानो भएका प्रकाशको टाउको केही ठूलो छ । प्रकाशका आफन्त मजदुरी गरेर गुजारा चलाउँछन् ।
विराटनगर महानगरपालिकाले उनलाई पूर्ण अपांगता भएका व्यक्तिलाई प्रदान गरिने रातो कार्ड उपलब्ध गराएको छ । महानगरले प्रकाश देशकै होचो व्यक्ति भएको दाबी गर्दै आएको छ । महानगरले एक वर्षअघिदेखि प्रकाशलाई प्रदान गर्दै आएको मासिक ३ हजार रुपैयाँ विशेष भत्ता पूर्ण अपांगताको प्रमाण पत्र पाएपछि मासिक ६ हजार पुग्ने बताइएको छ ।

जुम इन

विश्वमा सर्वाधिक ब्रान्ड भ्याल्यु भएका १० कम्पनी

- साप्ताहिक संवाददाता

१ नील ८९ खर्ब ५० अर्ब १० करोड रुपैयाँ


१ नील ८९ खर्ब ५० अर्ब १० करोड रुपैयाँ


१ नील ४१ खर्ब ५८ अर्ब ९० करोड रुपैयाँ

१ नील ९ खर्ब ६१ अर्ब रुपैयाँ

 

१ नील ५४ अर्ब ७० करोड रुपैयाँ

 

६६ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ

 

६६ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ

 

६६ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ


५० खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ

 

५० खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ

जुम इन

शरणार्थी भुवन निर्वाचित

- विजय थापा

भुटानमा जन्म भै हाल अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका युवा भुवन प्याकुरेल इतिहास रच्दै ओहायोको रेनोल्ड्सवर्ग सहरको नगरपरिषद् सदस्य निर्वाचित भएका छन् । गत नोभेम्बर ५, २०१९ का दिन सम्पन्न निर्वाचनमा प्याकुरेल विजयी भएका हुन् । उनी उक्त सहरको वडा नम्बर–३ बाट सिटी काउन्सिलर (नगरपरिषद् सदस्य) भएका हुन् । प्याकुरेल यसरी अमेरिकाको निर्वाचनमा विजयी हुने पहिलो भुटानी— अमेरिकन भएका छन् ।
प्याकुरेल ९ वर्षको उमेरमा परिवारका साथ भुटानबाट लखेटिएर नेपालको झापा पुगेका थिए । उनी १८ वर्षसम्म नेपालका विभिन्न शरणार्थी शिविरमा रहे । प्याकुरेल सन् २००९ मा अमेरिकाको कोलोराडो आएका थिए भने पछि उनी ओहायोमा बसाइँ सरेका थिए । भुवनले सन् २०१६ मा अमेरिकाको नागरिकता लिएका हुन् ।

जुम इन

महिला हिंसाविरुद्ध

- साप्ताहिक संवाददाता

समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका युवाहरूले बढ्दो महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले एक्सन फर नेसन नेपाल नामक संस्था गठन गरेर महिलाहरूको आत्मरक्षा अभियान सुरु गरेका छन् । संस्थाले सुरुमा काठमाडौं र त्यसपछि देशका विभिन्न स्थानमा पुगेर महिलाहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिने बताइएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका तेक्वादो खेलाडी एवं पर्यटन वर्ष–२०२० का अमेरिकाका लागि पर्यटनदूत प्रकाश थापाको अध्यक्षतामा यो संस्था गठन भएको हो ।

उत्प्रेरणा

युवाहरूलाई रोजगारी दिँदै

- ऋषि राई

एक वर्षअघि सिरहाको मिर्चैया नगरपालिका–१२ मा राजपति पूर्वेले सञ्चालनमा ल्याएको आधुनिक एनआरपी सैलुनको तेस्रो शाखा उदयपुरको कटारीमा सञ्चालनमा आएको छ । सिरहामै दुई स्थानमा सञ्चालनमा ल्याएपछी तेस्रो शाखा कटारी आइपुगेको सैलुनले सिन्धुलीमा चौथो शाखा खोल्ने तयारी गरिरहेको बताइएको छ ।
एसी, सिसी क्यामेरा, फ्री वाईफाईजस्ता सुविधाले सम्पन्न उक्त सैलुनका लागि प्रतिसैलुन २० लाखभन्दा बढी लगानी परेको छ । ‘सैलुनले हालसम्म दर्जनभन्दा एक बढीलाई रोजगारी दिएको छ । सैलुनका कटारी शाखाका धनुषा सबैला–४ का प्रेमकिशोर ठाकुरले भने– ‘९ वर्ष वैदेशिक रोजगारीमा कतार पुगेर आएपछी सैलुनमा सहकार्य गरी काम गरिरहेको छु ।’
ठाकुरले नेपालमै कपाल काटेर मासिक २५ हजार सम्म आम्दानी हुने भएकाले विदेश छाडेर कैंचीमा हात चलाएको कुरा बताए । कतारमा समेत कपाल काट्ने काम गरेका ठाकुरले नेपालमै यहि पेशामा राम्रो आम्दानी हुने भएपछि विदेश जान छाडेको जानकारी दिए । सैलुनको शाखामा काम गर्नेहरूले ५० प्रतिशत कमिसनमा काम गर्ने गरेका छन् ।
सैलुनमा चिया, कफी तथा लस्सीका साथै पत्रपत्रिका पढ्ने सुविधाका साथै बिहानैदेखि वेलुका सम्म सेवा उपलब्ध गराइन्छ । अन्य सैलुनकै शुल्कमा सेवा दिने गरेको यो सैलुनले पार्लर समेत सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

Page 3
समय सन्दर्भ

आएल्ट्सको रन्को

- अधिकारी रवीन्द्र

‘कति पढिस् ?’
“डिग्री सकेको चार वर्ष भो ।’
‘आएल्ट्स गरिस् ?’ कुनै अपराध नै गरेजसरी उसले फेरि सोध्यो ।
‘छैन ।’
‘अनि के पढिस् त ? जाबो आएल्ट्स पनि गरेको छैनस् ।’
अर्कोले सही थप्छ, ‘हुन पनि हो, विदेश लाने गुदी विषय छोकै रहेनछ बडो डिग्रीको फुई ।’
०००
खेत खन्न जा भन्दा तास खेल्न जाने, १२ कक्षा दोहोर्‍याएर पास भएको उरन्ठेउलो छोरोलाई बिहान–बिहानै बूढा बाबुले पर्खालमा टुसुक्क बसी गाली गरिरहेको सुनेँ, ‘पल्लाघरे, माख्लाघरे ठेट्ना सब युरोप–अम्रिका गैसके, यो अद्बेस्रो खुरुक्क आएल्ट्स हो कि साइल्ट्स् गर्न गए हुनि नि चाँडै ।’
चियापसलमा आएल्ट्स, पब्लिक गाडीमा आएल्ट्स, पार्कमा आएल्ट्स, जनजिब्रोमा आएल्ट्स । अझ पत्रपत्रिका र मिडियामा त झन ठूला–ठूला अक्षरका आएल्ट्स । यो जमानाका वयस्कहरू पूरापुर आएल्ट्समा अभ्यस्त भैसकेका रहेछन । आएल्ट्स त दिनैपर्ने जाँच बनिसकेछ । १२ कक्षा प्रथम श्रेणीमा पास भएर पनि कसैले आएल्ट्स गरेको छैन भने ऊ अयोग्य वा ब्याकवार्ड मानिँदो रहेछ । इज्जत जोगाउनकै लागि पनि अब मैले आएल्ट्स गर्नै पर्ने भो । आखिर क–कसले आएल्ट्स गरेको छ त भन्ने प्रसंग दिनमा दुई–चार पटक त चल्ने नै भैसक्यो, कति लाजले गाला रातो पारिरहने ? मान्छेले आफ्नो पाखन्डीपनबाट तबसम्म स्वतन्त्रता पाउँदैन जबसम्म उसले आएल्ट्स गरेको हुँदैन ।
आएल्ट्स रहेछ अन्तर्राष्ट्रिय अंग्रेजी भाषाको परीक्षण प्रणाली । यो गर्नासाथ विदेश जान पाइने कुरा सुनेर दंग त जो पनि पर्ने नै भए । कोर्स गर्न गइयो बानेश्वर चोकको एक इन्स्टिच्युटमा । बेलायत, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत अमेरिकाकासमेत ३ हजारभन्दा बढी कलेजले स्वीकार गर्ने कोर्स ज्वाइन भइयो, आफू ज्यादै फर्वार्ड भएझैँ लाग्यो ।
क्लास सुरु भयो । २० जनाको क्लासमा १९ जना १६ देखि १८ वर्षका हुँदा हुन् । मनमनै सोचेँ, छ्या यो त भुराहरूले पढ्ने विषय रहेछ, छोडेर बाहिर जाऊँ कि क्या हो ? त्यत्तिकैमा एउटा बूढो भित्र पस्यो, सबैले उठेर गुड आफटर्नुन सर भने । कपाल सेत्तै फुलेको त्यो बूढो नबोली लुइँलुइँ पछाडि सिटमा आएर बस्यो । ओहो ! यो पनि विद्यार्थी ? सबै चकित परे तर मचाहिँ निर्धक्क भएँ । त्यो बूढोले मेरो बाहिरनुपर्ने मानसिकता क्षणभरमै दूर गरिदियो ।
क्लास सुरु भएको बल्ल दुई–चार दिनपछि पो भेउ पाइयो, अंग्रेजीको चार थरीको जाँच हुने रहेछ त्यसमा । भर्खरका बड्कौंले भुराहरूले फरर अंग्रेजी बोलेको सुन्दा ढक् खान्थेँ म । क्लासमा म एक नम्बरको लद्दू सावित हुने थिएँ, तर त्यो बूढो छँदै थियो, नत्र म पर्थें । सरकारी स्कुल पढेर आ’को, अंग्रेजीमा जे लेखे नि ४० नम्बर आउँथ्यो, चलेकै थियो । यसमा चाहिँ हल्का कडै खालको अंग्रेजी चाहिने रहेछ जस्तो लाग्यो । भए नि प्रेस्टिजको सबाल छ, जसरी नि आएल्ट्स दिएको इतिहास त कायम गर्नैपर्‍यो । जसोतसो प्रणाली बुझियो, अब प्रक्रिया अघि बढाउन डेट लिनुपर्ने भो ।
डेट जाने भन्ने सुन्या थिएँ, अब डेट लिन पर्ने पनि सुनियो । ओहो डेट लिन त जाँच दिनुभन्दा पनि गाह्रो हुने रै’छ । आएल्ट्सको डेट त लरतरो मान्छेले कहाँ लिन सक्दो रहेछ र ? सब आएल्ट्स गर्ने अनि डेट पनि कसरी पाइयोस् ? एउटा नाथे जाँच दिन चार महिना अघिदेखि १८ हजार बुझाएर दाउ हानेर बस्नुपर्ने रहेछ । डेट लिन ढंग पनि त हुनुपर्‍यो, बरु दुई–चारवटा कन्सल्टेन्सीलाई एक–एक हजार दिऊँ अनि तिनीहरूले डेट लिइदिन्छन्, चलन यस्तै छ भनेर भन्यो एउटाले । उसले यो पनि भन्यो, विरलै डेट लिने दिन खोल्छ अनि एक्स्पर्ट नभए सकिन्न, इन्टरनेट ट्राफिक हो कि सर्भर डाउन के–के हुन्छ रे । हामी पाँच–सात जनाले होमा हो मिलाइयो ।
जाँच आउन चार महिना बाँकी भएकाले ढुक्कसँग बसियो । चार–चार महिनासम्म पढ्दा पनि पढिएन । जाँचको दुई दिन अगाडि सँगै क्लास लेको भाइले फोन गरेपछि पो झल्याँस्स भएँ । हतार–हतार घर गएर कानमा स्पिकरको ठेडी घुसाएँ र लिस्निङ अभ्यास गर्न थालेँ । पाँच मिनेटमै कन्फर्म भयो, केही उपाय लाग्दैन । चिट चोर्ने बुद्धि आयो तर तरिका थाहा भएन । गोराहरू मकै चपाएजस्तो अंग्रेजी बोल्ने, पूरै प्यारा बोल्दा अन्तिमको एक शब्द बुझ्या–बुझ्या जस्तो हुन्थ्यो । तैपनि पढ्ने र सुन्नेमा त सब कागे हानेकै भरमा दुई–चार नम्बर खुस्काउने पक्का भयो । लेख्नेमा कनिकुथी लेखिएला, बोल्नेमा त ठ्याम्मै थियो ।
रिजल्ट १३ दिनमा अनलाइन आउँछ रे, तर म भने त्यस्तै १८ दिनजतिपछि टेस्ट रिपोर्ट फर्म लिन ब्रिटिस काउन्सिल गएँ । ३ आएछ । गर्वले छाती तनक्क तन्कियो । पूर्णाङ्क ९ हो, ३३ प्रतिशत त एसएलसीसमेत पास हुने अंक हो । आइल्ट्समा साढे ७ आ’को भनेर एउटा केटो चियापसलमा गफ हान्दै थियो, देखेर झपारें, ‘टोइट, के नै माखो मारिस् त ? त्यत्रो खर्च गरेर बोर्डिङमा पढा’को खेरै गएछ, मेरोभन्दा जम्मा साढे ४ नम्बर बढी ?’ सँगैको बूढोले भन्यो, ‘हो त आजकालको बोर्डिङ स्कुलको पढाइ त्यस्तै त हो, खत्तम ।’ पूर्णाङ्कै हानेको भए पनि जम्मा नौ त थियो, गाउँको चियापसलमा ऊ जसरी नि हाँसोको पात्र हुनेवाला थियो ।
मसँगै क्लास लिने बूढोसँग बाटोमा भेट भयो एक दिन, उसको १ अंक आएछ । उसले भन्यो, ‘अब छोरा–नातिका अगाडि लाज नहुने भो, मैले त आएल्ट्स डिग्रीको सर्टिफिकेट लेमिनेसन गरीवरी फ्रेममा हालेर लिभिङ रुममा झुन्ड्याइसकें ।’ बूढालाई के थाहा, त्यो सर्टिफिकेट दुई वर्षमा चना चट्पटे पोको पार्न मात्र काम आउनेछ भनेर । हो, आएल्ट्स त गरियो, आजसम्म खोइ चरो–मुसोले विदेश आइज भनेर अफर गर्‍या छैनन् । सर्टिफिकेट त सक्कली नै हो ब्रिटिस काउन्सिलले दिएको ।

Page 4
कान्तिपुर गाथा

अग्लियो कालापानी, खुम्चियो धरहरा

- किशोर नेपाल

समय कति छिटो सर्किने रहेछ । चार वर्षअघि २०७२ वैशाख १२ गते देशमा ठूलो भुइँचालो गएको थियो । त्यो भुइँचालो जानुभन्दा अघि वर्तमान प्रधानमन्त्री केपी ओली एमाले पार्टीका अध्यक्ष थिए । त्यतिबेला उनी धरहरा चढेका थिए । यो घटना कुन्नि कतिले सम्झिएका होलान् । अहिले प्रम ओली कालापानी, लिम्पियाधुरा र लिपुलेकको तनावको शिखरमा होलान् । उनी ‘तनाव लेनेका नहीं, देनेका बात है’ भन्ने खालका नेता होइनन् क्यारे । नभए एमाले जातका नेताहरूको भावभंगिमा ‘तनाव देनेवालेका’ नै हुन्छ ।
यो अनुमान गर्न सकिने कुरा होइन कि ओलीजी केटाकेटीदेखिको आफ्नो रहर पूरा गर्न धरहरा चढेका थिए कि त्यसका अरू पनि केही सामाजिक–राजनीतिक व्युत्पत्ति थिए ? यो पनि कसैले भन्न सक्ने कुरा भएन । प्रम ओलीले धरहरा चढ्दाको आफ्नो अनुभव अहिलेसम्म सार्वजनिक गरेका छैनन् । यति अन्दाज त गर्न सकिन्छ, प्रम ओलीले धरहरा चढेर आफूमा रहेको उत्साह, बल र स्फूर्तिको राम्रो प्रदर्शन गरेका थिए । यो अर्कै कुरा हो । उनलाई अहिले पनि केही भएको छैन । खाली मिर्गौलाले दुःख दिएको मात्र हो ।
प्रम ओलीको धरहरा आरोहणको लगत्तै भुइँचालो नगएको भए धरहरा ढल्ने थिएन । त्यसका कथा र किंवदन्तीहरू लेख्न पाइने थिए भनेर चुकचुकाउनेहरूको ठूलै समूह छ । जतिसुकै ठूलो समूह भए पनि प्रधानमन्त्रीसँग उनले धरहरा किन चढेका थिए ? सोध्ने कुरा भएन । एउटा कुरा के स्पष्ट भयो भने केपी रेकर्ड तोड्नमा खप्पिस छन् । अहिलेसम्म देशका प्रधानमन्त्री बन्ने लाइनमा रहेका र प्रधानमन्त्री बनेका कसैले पनि धरहरा चढेका थिएनन् । केपीले उक्त रेकर्ड तोडिदिए । उनले आरोहण नगरेका भए भुइँचालोले धरहरालाई चुनौती दिएर ढाल्ने थिएन कि ? बूढा–पाकाहरूका अनुसार, जसरी राजाहरूले बुढानीलकण्ठको मन्दिर परिसरमा स्थापित नारायणको मूलमूर्तिको दर्शन गर्नु हुँदैन, त्यसरी नै देशको प्रधानमन्त्री हुने चाहना भएका मानिसले धरहरा चढ्न हुँदैन । धरहरा दिल्लीको कुतुवमिनारजस्तो पनि थिएन, न्युयोर्कको ट्रेड टावरजस्तो पनि थिएन । धरहरा सौन्दर्यको मिनार थिएन । यो हेर्नैपर्ने वास्तुकला नभए पनि सुदूरको पहाडी देशमा यसको उपस्थिति आफैंमा अजूवा त छँदै थियो । पश्चिमी वास्तुको तर्जमा बनेको गज्जबको स्मारक थियो यो । यो बस्ने कोठा, बैठक, भान्सा केही नभएको घर भीमसेन थापाले रहरै रहरमा बनाए होलान् । हरेक तलामा सानो–सानो झ्याल र घुमाउरो भरेंग– माथि पुगुन्जेल आरोही थाकिसकेको हुन्थ्यो । त्यही थाकेको अवस्थामा प्रम ओली धरहरा चढेर काठमाडौंको सुरक्षा व्यवस्था हेर्थे वा अरू के गर्थे ?
एकताका धरहरा चढ्न पैसा पनि तिर्नुपर्थ्यो । केही वर्षपछि यो स्मारकभित्र मानव जातिको प्रवेश निषेध गरिएको थियो । यसैको उचाइबाट फालहालेर पत्रकार मित्रलाल बालकले यो संसारबाट बिदा लिएका थिए । देशमा अग्लो संरचना हुनुको फाइदा यही हो कि मानिसले माथि आकाशतिरबाट फाल हालेर धर्तीमा सास फ्याँक्न सक्छ । यो धरहरा भत्किएपछि धेरैले आफ्नो मन रोएको कथा बताए । यो स्तम्भकार आफैं सुन्धारा क्षेत्र घुम्न जाँदा चिर–परिचित धरहरा नदेखेर चकित भएको थियो । त्यसपछि थाहा भयो, रानीपोखरीको हालत पनि उस्तै छ । दरबार स्कुल त ध्वस्त नै भएको थियो । त्यतिबेला हालका प्रम ओलीले नेपालीको आफ्नै बुताले धरहरा बनाउने कुरा बताएका थिए । काठमाडौंका प्रत्येक मानिससँग मानो–मुठी उठाएर धरहरा बनाएको भए त्यो भुइँचालोको कीर्तिस्तम्भ हुन्थ्यो । जुद्धशमशेरले १९९० सालको भुइँचालोको सम्झनामा त्यत्रो भूगोल पार्क बनाए । तत्कालीन समयका लागि त्यो भूगोल पार्क सानो थिएन ।
उपत्यकाका तीनै सहरमा विपदग्रस्त सम्पदाको संरक्षणका लागि सरकार बेला–बेलामा उठ्ने गरेको छ । अहिले सरकारका रिङ लिडरहरूमा ओली, प्रचण्ड र देउवा सबैले कनिकुथी सम्पदा संरक्षणको नियमित भाषण गर्ने गरेकै छन् । सम्पदाहरूको कुरा छाडौं । सबै भुइँचालो पीडितको बासको ठेगान अहिलेसम्म लागेको छैन । सरकारले मात्र होइन, सम्बन्धित अरू संस्थाहरूले पनि लत्तो छोडेका छन् । हरेक विपदमा नेपाललाई साथ दिदै आएको विश्व बैंकजस्तो संस्थासमेत भुइँचालोको प्रसंगमा लगभग निरपेक्ष बस्यो । उसको यो निरपेक्षताले गरीब नेपालीको हित गरेन होला । भुइँचालो जानेबित्तिकै जनतालाई तत्कालिक राहत पुगोस् भनेर दाताले पठाएका पालहरू सांसदहरूले काखीमा च्याप्दै हिंडेको दृश्य यही देशमा देख्नुपर्‍यो । यत्रो विसंगत अवस्थामा पनि नेपाली जनताले जसरी ज्यान जोगाए त्यसलाई धन्य भन्नुपर्छ ।
यता आएर प्राचीन सम्पदाको सुरक्षामा केही काम भएजस्तो देखिए पनि विकासमा कुनै गति छैन । सरकारसँग नीति छैन, के गर्ने कार्ययोजना छैन, कसरी अघि बढ्ने थाहा छैन । यो अवस्थामा न त सांसदहरूले नै सरकारलाई दबाब दिइरहेका छन, न सरकारले सांसदहरूको सुझाव खोजिरहेको छ । शासन गर्नेलाई सुविधाहरू चाहिएको छ । गाडी हिंड्ने बाटो नभए पनि गाडी चाहिएको छ । देशको ढुकुटीमा पैसा छैन । जनताको गाँस काटेर पनि सुविधा चाहिएको छ । जुन देश यस्तो नियतिमा पुगेको छ त्यसको विकास कसरी हुन्छ ?
हुनसक्छ, धरहरा चढेपछि देशलाई यति नै उचो शिखरमा पुर्‍याउने जोश चढेको थियो प्रम ओलीमा । उनले नारा नै लगाए– समृद्ध र समुन्नत नेपाल । कति राम्रो नारा, तर समृद्धिको हकमा डोजर चलेको चल्यै छन् । बाटो–घाटो, वन–पाखो केही बाँकी छैनन् । नेपालमा ठेकदार र सरकारका बीच झगडा चलिरहने गरेको छ । धरहरा पुनर्निर्माणको हकमा ठेकेदार र सरकारको झगडा सुरु भैसकेको बताइन्छ । धरहरा क्षेत्र विस्तारका लागि टक्सार र हुलाकको स्थानान्तरण भएर त्यहाँ मैदान बनिसकेको छ ।
देशलाई त्यो भत्किएको धरहराभन्दा माथिको उचाइमा पुर्‍याउने हो भने हरेक नयाँ पुराना र स्मार्ट सिटीमा त्यत्ति नै उचाइका धरहरा बनाउनु उचित हुन्छ । हिजोआज देशमा समृद्धिको नयाँ सपना हाउसफुलका साथ चलिरहेको छ । त्यसैले स्वतन्त्रताका हरेक बाटा खुम्चिन थालेका छन् । सडक छ, पेटी छैन । यसपछि के हुन्छ ? यो प्रम ओलीलाई थाहा नभएको कुरा होइन । देश हो । देश त सधैं संकटमा रहन्छ । अहिले सरकारले बनाउन खोजेको धरहराभन्दा अग्लो संकट कालापानी, लिम्पियाधुरा र लिपुलेकले उत्पन्न गरेको छ । यो संकटबाट पार नपाएसम्म नयाँ बन्ने धरहराको अस्मिता पनि के नै रहन्छ र ?

पाठक मञ्च

पाठक मञ्च

जबदेखि साम्राज्ञी बिकिनी अवतारमा (फ्लप क्लबमा साम्राज्ञी) देखिन थालिन्, त्यो दिनदेखि उनको उल्टो गन्ती सुरु भयो । हुन त कहिले पो साम्राज्ञीको स्टारडम उकालो लागेको थियो र ? उनको अभिव्यक्ति पनि कलाकारको जस्तो छैन । कलाकार भनेका राष्ट्रका गहना हुन् । सबैले यो कुरा बुझ्न जरुरी छ ।
- सुजन घिमिरे

साप्ताहिकले गत अंकमा (हामी यस्तै त हो नि ब्रो ) प्रकाशित गरेको भीटेनको कथा तथा उनीसँगको अन्तर्वार्ता निकै रोचक लाग्यो । भीटेनका बारेमा अहिले भैरहेका टीका–टिप्पणीहरूलाई चिर्न यसले केही हदसम्म मद्दत गर्छ ।
- रबिना क्षेत्री

पारस खड्काको जर्सीको (पारसको जन्मदिन र जर्सी नम्बर) नम्बर ७७ को अर्थ के होला भनेको त यस्तो पो रहेछ । कस्तो गज्जब ? कात्तिक ७ गते जन्मिएको भएर पो दुई वटा ७ लाई मिलाएर जर्सी नम्बर ७७ बनाएका रहेछन् उनले ।
- विपिन सुनार



जाडो महिनामा अन्य मासुको तुलनामा (जाडोमा च्याङ्ग्राको स्वाद) च्याङ्ग्राकै मासु ठीक हुन्छ । हिमाली भेगमा मात्र पाइने च्याङ्ग्रा हिमाली जडिबुटीहरू खाएर हुर्कने हुनाले यसको मासु स्वादिलो एवं स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ ।
- पर्शुराम राई

Page 5
साप्ताहिक कुराकानी

राजनीतिक संघर्षमा परिवार पनि जोडिएको हुन्छ

- राजाराम पौडेल

कास्की क्षेत्र नम्बर–२ मा मंसिर १४ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार हुन्— विद्या भट्टराई । ४७ वर्षअघि जन्मिएकी विद्या स्व. रवीन्द्र अधिकारीकी श्रीमती हुन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । भट्टराई अधिकारीको निधनपछि रिक्त भएको कास्की क्षेत्र नम्बर–२ मा उनकै उत्तराधिकारी बन्ने दौडमा छन् ।

 

प्रतिनिधिसभाको उपनिर्वाचनमा तपाईंको उम्मेदवारी किन ?
२०७४ सालमा जनताले नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विजयी गराएर पठाए, सूर्य चिन्हलाई विजयी गराएर पठाए । स्व. रवीन्द्र अधिकारीलाई जनताले त्यतिबेला आफ्नो प्रतिनिधिका रूपमा निर्वाचित गरेर पठाउनुभयो । यसबीच एउटा अकल्पनीय घटनामा हामीले उहाँलाई गुमायौं । यो उपनिर्वाचन रवीन्द्र अधिकारीको रिक्तता पूरा गर्न हुन लागेको निर्वाचन हो, पाँच वर्षका लागि नेकपाका जनप्रतिनिधिले पाएको त्यही जनादेश पूरा हुन लागेको निर्वाचन भएकाले मेरो उम्मेदवारी आएको हो ।

उम्मेदवारीका लागि पार्टीले कसरी प्रस्ताव राख्यो ?
सुरुमा घटना घट्नेबित्तिकै वामदेव कमरेड बोल्नुभयो । उहाँले बोलेपछि नै मानिसहरूले एक खालको आँकलन गर्न थाल्नुभयो, मिडियाले पनि मलाई सोध्ने, करिब–करिब म किरियामै बसिरहेका बेला (१३ दिनभित्र) पनि मलाई त्यस्तै प्रश्न आउँथे । म पीडामा छु भनेर बोल्दै बोलिनँ । पछाडि विद्या उठ्छे भन्ने एकथरीलाई लाग्यो । एकथरीले उठ्दिन प्राध्यापन छ, स्थायी जागिर छ भन्ने हिसाबबाट हेर्नुभयो । मलाई दुईवटा कुरा लाग्यो । एउटा मैले आफ्नो परिचय प्राध्यापन क्षेत्रमा बनाइसकेकी थिएँ । ५–६ वर्षअघिसम्म म कहिले कता कहिले कता नै भएँ । म ५–६ वर्षयता टोटली एकेडेमिक लाइनमै अघि बढ्छु भनेर अघि बढिरहेकी थिएँ भने रवीन्द्रजीको पोलिटिकल हाइट पनि बढिरहेको थियो । हामी दुवै जना एक–एकवटा स्ट्यान्ड बोकेर हिँडिरहेको अवस्थामा यस्तो घटना घट्यो । मलाई त्यो घटनापछि झ्याप्पै यो काम गर्छु भन्ने पनि भएन, समय लाग्यो, अब विद्या आउँछे, आउनुपर्छ भन्ने साथीहरू थुप्रै हुनुहुन्थ्यो, ती साथीहरू भनेका पार्टीका मात्र हुनुहुन्नथ्यो, सबै विचारधाराका मानिसले मलाई अब राजनीतिमा आउनुहोस्, किनभने तपाईंको पृष्ठभूमि छ, तपाईंले गुमाउने कुरा केही बाँकी रहेन । अबको सक्रिय जीवन राजनीतिलाई दिनुहोस्, तपाईंहरूजस्तो मानिस आउनुपर्छ भन्ने मत ठूलो थियो । त्यो मतका कारण मलाई जाऊँ कि नजाऊँ भन्ने भैरहदा पार्टीले मेरो मात्र नाम सर्वसम्मत तरिकाले जिल्लाबाट पठायो, लिडरहरूलाई भेट्दा पनि होइन, तपाईं नै उठ्नुहोस् भन्ने खालको विचार आयो ।

परिवारबाट के भन्नुभयो ?
एउटा छोरा टिनएजको छ, अर्को सानै छ, मेरो निर्णयमा उनीहरूले केही भन्ने कुरा भएन । परिवारका अन्य सदस्यहरूको पनि साथ छ, कसैले पनि रोकटोक गर्नुभएन ।

सहानुभूतिको भोट पाउने आशामा नेकपाले तपाईंलाई टिकट दिएको भन्ने पनि छ नि ?
मतदातालाई रवीन्द्रजीको अभाव अहिले नै महसुस भैसकेको छ । कसैले कसैप्रति सहानुभूति, सद्भाव राख्न वा श्रद्धा गर्न नपाउने कुरा त भएन नि, आखिर मानिसले मृत्युपछि सहानुभूति त राखिहालिन्छ नि, त्यो पनि अकल्पनीय मृत्यु । मलाई के लाग्दैन भने सहानुभूतिको भोटका लागि मात्र पनि होइन, तर त्यो पनि एउटा सम्बन्ध त होला नि, यहाँका जनतासँग, यहाँका आमा, बा, दिदी, बहिनीको रवीन्द्रजीसँग नजिकको भावनात्मक सम्बन्ध थियो । आफ्नो एउटा प्यारो जनप्रतिनिधिलाई गुमाइसकेपछि आउने सहानुभूतिलाई नकारात्मक रूपमा हेर्नुपर्छ र ? पर्दैन होला नि । मैले यसलाई त्यति ठूलो विषय मानेकी छैन, सहानुभूति पनि सम्बन्धको एउटा पाटो हो— मानिसहरूको सम्बन्ध कतिपय बेला रमाइलोको हिसाबले जोडिएला भने कतिपय अवस्थामा दुःख–समवेदनाले पनि मानिसलाई जोडेको हुन्छ । त्यसलाई त्यस्तो नकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्दैन, तर त्यही आशले मात्र पार्टीले टिकट दिएको होइन । मैले केही गर्न सक्छु भन्ने भएरै हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र तपाईंलाई जोड्दै श्रीमान्का कारण अवसर पाएका भनेर टीकाटिप्पणी गर्नेहरूलाई के भन्नुहुन्छ ?
एउटा त नाम मिलेको भएर होला, अर्को कुरा मदन भण्डारी त्यो बेलाको पार्टीभित्र मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा एकदमै लोकप्रिय भैसकेको नेता, त्यही खालको दर्जा रवीन्द्र अधिकारीलाई दिनुभएको पनि हुन सक्छ । अर्को कुरा हामी दुवै जनाको पृष्ठभूमि विद्यार्थी आन्दोलन नै हो । हामी दुवै विद्यार्थी आन्दोलनमा क्रियाशील भयौ । पछि पारिवारिक हिसाबले भूमिका बदलियो, त्यो कुराले पनि हुनसक्छ । हामी कहाँ हरेक कुरालाई इस्यु बनाइन्छ, मानिस आफैंमा पनि त फरक होला नि, नाम मिल्यो होला, पृष्ठभूमि मिल्यो होला, कतिपय घटनाक्रम मिल्यो होला, अर्को कुरा दुर्घटना पनि होला, दुवैको दुर्घटनामा मृत्यु भयो, त्यो हुनाले पनि जोडिएको होला । मलाई कस्तो लाग्छ भने यो तुलना गर्ने कुरा होइन । हरेक मानिसको आफ्नै विशिष्टता हुन्छन् र त्यही विशिष्टताका आधारमै मानिस अघि बढ्ने हो । तुलना गर्न पाइँदै–पाइँदैन त म भन्दिनँ, तर यस्ता कुराहरू तुलना गर्ने विषय होइनन्, यसमा मैले अहिले के भन्ने भन्दा पनि भोलि मेरा कामले, व्यवहार परीक्षणले मलाई कसरी चिन्ने भन्ने कुरा हुन्छ ।

अहिले नेकपामा पनि पारिवारिक नाता–गोतालाई अवसर दिइन्छ, सामान्य कार्यकर्ताले अवसर पाउन गाह्रो छ भनिन्छ नि ?
राजनीतिक आन्दोलनमा परिवार त जहिल्यै पनि जोडिएको हुन्छ । हिजो त राजनीति भन्नेबित्तिकै आन्दोलन थियो । आन्दोलनमा कसले सहयोग गर्नुपर्थ्यो भन्दा परिवारले नै सहयोग गर्नुपर्थ्यो, त्यहाँ श्रीमतीले पनि सहयोग गर्नुपर्थ्यो । अझ कम्युनिस्ट विवाहचाहिँ आन्दोलनमै लागेका कार्यकर्ताबीच हुने हो । अहिले म जोडिँदा त यो प्रश्न उठ्यो । हिजोदेखि नै राजनीतिमा लागेको भए कति उठ्थ्यो होला ? यस्ता प्रश्नचाहिँ महिलामाथि नै किन उठाउनुपर्ने ? योगदान बराबरी छ, एउटी म जतिकी महिला राजनीतिमा आउन हुन्थ्यो कि हुँदैनथ्यो ? हामीले त भनिरहेका छौं नि, महिला राजनीतिमा आउनुपर्छ, त्यसमा पनि सुझबुझ राख्ने महिला आउनुपर्छ ।
हामी बौद्धिकता भएका महिलाहरू राजनीतिमा आउनुपर्छ भन्छौं भने आज विद्या भट्टराई रवीन्द्रकी श्रीमती नभएकी भए राजनीतिमा आउन लायक थिई कि थिइन ? त्यसले गर्दा मलाई के लाग्छ भने हामीले यसलाई पारिवारिक विषयभन्दा पनि हरेक व्यक्तिका आफ्ना नागरिक दायित्व छैनन् ? मैले नागरिक भएर बाँच्न पाउने कि नपाउने ? स्वभाविक रूपमा मेरा सम्बन्ध जोडिन सक्छन्, सम्बन्ध जोडिँदाखेरि त्यो सम्बन्धसँग मात्र निर्भर भएर हेर्नु भएन । मेरो स्वतन्त्र अस्तित्वलाई पनि हेर्नुपर्‍यो ।
यसमा म तीनवटा कुरा देख्छु, एउटा उसको पृष्ठभूमि जोडिएला । कांग्रेसमा कोइराला परिवारभन्दा अरू किन आउन सकेनन् त ? कोइरालाहरूले नेपाली कांग्रेसको आन्दोलन तथा त्यो पार्टीको विकासका लागि निर्वाह गरेको भूमिकाको कदर गरिएको पनि हुनसक्छ । नत्र अरू परिवार पनि आउने थिए । परिवारभित्र पनि नेतृत्व गर्ने बीपी कोइरालाको योगदान, बीपी कोइरालाको नेतृत्व, बीपी कोइरालाले कांग्रेसलाई जुन ढंगले अघि बढाउनुभयो त्यसको कदर पनि होला । त्यस्तै मदन भण्डारीको हकमा पनि त्यही होला । हाम्रो हकमा पनि मेरो पृष्ठभूमि पनि छ । म हिजो राजनीतिक आन्दोलनबाट उहाँसँग जोडिए, विवाह भयो । हाम्रो राजनीतिक आन्दोलनबाट जोडिएको नाता हो, नाता जोडिएर म कार्यकता भएकी होइन कार्यकर्ता भएकाले नाता जोडिएको हो । त्यो नाता जोडिएपछि एउटालाई अघि बढाउन मैले पछाडि बसेर भूमिका खेलें । मैले खेलेको उक्त भूमिकालाई आज जोड्ने कि नजोड्ने ? हामी महिलाले घरभित्र गरेका कामको हिसाबकिताब हुनुपर्छ भन्छौं । महिलाको घरको कामलाई पनि राज्यको जीडीपीमा जोड्नुपर्छ भनेर माग भैरहेको छ । यस क्रममा राजनीतिक कार्यकर्ता निर्माण गर्न परिवारले खेलेको भूमिकालाई बिर्सनु त भएन नि । अझ म त हिजो राजनीतिक कार्यकर्ता नै थिए । यो रवीन्द्रजीको योगदानलाई कदर गर्दै, मेरो पृष्ठभूमि, मैले निर्वाह गरेको भूमिकालाई कदर गर्दै गरिएको सम्मान हो । एकैचोटी आएको कुरा होइन । यसलाई परिवार तथा नाता गोतासँग मात्र जोड्नु उपयुक्त हुँदैन ।

रवीन्द्रजी र तपार्इंको विवाह कसरी सम्भव भएको थियो ?
हामी अनेरास्ववियु मार्फत चिनियौ । हामी नजिकचाहिँ २०५० सालदेखि भयौं । नजिक हुने क्रममा साथीहरूले पनि तपाईंहरूको जोडी एकदमै राम्रो हुन्छ भन्ने कुरा गर्थें । हामी एक अर्काप्रति आकर्षित हुँदै गयौं, आकर्षित हुँदै गए पनि घुम्न जाने कुरा हुँदैनथ्यो । हामी एकले अर्काको आदर गर्थ्यौं, सम्मान गर्थ्यौं । त्यसले एकखालको निकटता बढ्दै गयो । त्यो निकटता बढ्दै जाँदा अब विवाह गरे पनि हुन्छ भन्ने भयो अनि हामीले विवाह गर्‍यौं ।

प्रेमको प्रस्ताव पहिले कसले राख्यो ?
प्रस्ताव नै राख्ने काम त भएन, तर वातावरण बनिसकेको थियो मनोवैज्ञानिक हिसाबले, एक दिन गफ गर्दै गर्दा विवाह गरौं भन्ने हिसाबले त होइन तर रवीन्द्रजीले मैले तपार्इंको बानीदेखि सबै कुरा पहिलेदेखि नै मन पराउँथें भन्नुभयो, मैले पनि मलाई पनि तपाईं मन पर्नुहुन्थ्यो भनें, त्यो एउटा जनरल खालको कुरा भयो, तर हामी एक अर्कालाई रेक्स्पेक्ट गर्थ्यौं ।

थोरै प्रसंग बदलौ, रवीन्द्रजी चढेको हेलिकप्टर दुर्घटना हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो ?
म कीर्तिपुर अनुसन्धान केन्द्रमा थिएँ ।

कसरी थाहा पाउनुभयो, कसले भन्यो ?
म काममै थिएँ, साथीहरूले फोन गर्न थाल्नुभएछ । पहिले त थाहा भएन फोन आइरहेको रहेछ, पछि फोन साइलेन्समा राखेको भएर हेर्दा धेरै फोन आएको रहेछ । म ती नम्बर हेर्दै थिएँ, त्यही बेला एक जना साथीको फोन आयो उहाँले यस्तो अपुष्ट समाचार आइरहेको छ के हो ? तपाईंलाई थाहा छ, कहाँ जानुभएको थियो भनेर सोध्नु भयो मैले यसरी जानुभएको थियो भने । अपुष्ट समाचार आइरहेको भनेकाले, म पनि बुझ्छु भने । तर त्यसपछि लगातार फोन आउन थाल्यो । यस्तो घटना भयो । तपार्इं त्यहाँबाट निस्कनुहोस्, पुल्चोक आउनुहोस् भन्न थाल्नुभयो ।

घटना सुनेपछि के गर्नुभयो ?
सुन्दाखेरी के हो, के हो– एकछिनसम्म होइन होला भन्ने भयो, कतिपय दुर्घटनामा पनि मानिसहरू बचेको, मानवीय क्षति नभएको सुनिन्थ्यो, त्यस्तै भैदिए हुन्थ्यो भन्ने कल्पना गर्दै आएँ, तर त्यो कल्पना गरेको १५ मिनेट जतिमा अबचाहिँ क्वाटर आउनु छिटो हिँड्नु भन्न थालेपछि मेरो शरीरमा कता–कता अप्ठ्यारो, के भैरहेको छ जस्तो भयो । कहिले पनि कुनै पनि कुरामा विचलित भैहाल्ने स्वभाव थिएन मेरो । म अविचलित नै रहे, साथीहरूको फोन आइरहेको थियो, ती फोन उठाएँ पनि । क्वार्टर आइपुग्दा साथीहरू जम्मा भैसक्नुभएको थियो । मलाई ५ बजेसम्म उहाँ हामीबीच हुनुहुन्न भन्ने कुरा साथीहरूले थाहा दिनु भएन । त्यस बीचमा हेलिकप्टर डाइभर्ट भयो भन्ने फोन आएपछि आशा जागेको थियो । ५ बजेपछि दाईले यस्तो–यस्तो भयो, अब उहाँ रहनुभएन भन्ने कुरा गर्नुभयो अनि म विक्षिप्त भएँ ।

उक्त घटनापछि तपाईंको जीवन कसरी गुज्रियो ?
सुरुको केही समय हो कि होइन सपना जस्तो लाग्थ्यो । सबैले रवीन्द्रको हँसिलो अनुहार सम्झिएँ भन्नुहुन्थ्यो, मलाई पनि कतै आइहाल्ने हो कि भन्ने लाग्थ्यो । घरमा बस्दा पनि यहाँबाट झुलुक्क निस्किने हो कि भन्ने खालको कल्पनामै रहें म सुरुको अवस्थामा । हामी परिवारका सबै जना बस्थ्यौं, भाइ–बहिनी आमा, बुबा, छोरा बस्दा उहाँकै कुरा सेयरिङ गरेर त्यो पीडाबाट बाहिरिन खोज्थ्यौं । म विस्तारै बाहिर निस्कन थालें । १५ दिनपछि नै काममा जान थालें । साथीभाइहरू भेट्दा पनि उहाँकै राम्रा कुरा गर्नुहुन्थ्यो, अब तपाईं अघि बढ्नुपर्छ भनेर उत्साहित बनाउँदै लानुभयो । बिर्सन त कहिल्यै सकिँदैन, तर म एउटा पीडामा अड्किएर जो बसिरहेको थिएँ नि, त्यसबाट बिस्तारै निस्कन खोज्दै थिएँ, निस्कन थालें । हामीले प्रतिष्ठान निर्माणको काम सुरु गर्‍यौं । रुँदै–रुँदै, बोल्दै हिँडें त्यतिबेला । त्यो कमजोरी थिएन, म त्यो पीडाबाट निस्किसकेकी थिइनँ । त्यसपछि मलाई के लाग्यो भने रवीन्द्रजीले धेरै कुरा गर्ने सपना बोक्नुभएको छ, त्यो सपना पूरा गर्न प्रतिष्ठानलाई अघि बढाउनुपर्छ, मैले आफूलाई प्रतिबद्ध बनाउनुपर्छ । उहाँले जहिले पनि के भन्नुहुन्थ्यो भने मानिसको जीवनमा जुनसुकै समस्या सिर्जना हुनसक्छ । ती समस्यासँग जुध्न सक्नेले मात्र आफूलाई अघि बढाउन सक्छ । उहाँको जुन उत्प्रेरणा थियो त्यही उत्प्रेरणाका कारण हाम्रो सिंगो परिवार अघि बढ्न सक्यो । म पनि अघि बढें ।

जनताको बीचमा पुगेर अनुमोदन हुन कत्तिको सहज देख्नुभएको छ ?
यसलाई कसरी लिने भन्ने कुरा हो । हामीले राजनीतिलाई जसरी असहज बनाइरहेका छौं, मानिरहेका छौं, त्यो गलत छ । राजनीति पनि एउटा कर्मक्षेत्र हो । यसका कतिपय मेकानिज्म, सिस्टमहरू बनिसकेका छैनन् र हामीलाई कतिपय कुरा असहज लागिरहेको छ । सिस्टम बनाउँदै जाँदा मेकानिज्म बनाउँदै जादाँ राजनीति स्वार्थ र शक्तिको खेल मात्र होइन भन्ने आमधारणा बन्न सक्छ । राजनीति गर्नै नहुने भन्ने कुरा त भएन नि, त्यहाँभित्र असहजता मात्र छैन नि, म हिजो राजनीति गरेरै आएको मानिस हुँ, मैले यसलाई ठूलो विषय बनाएकी छैन । तर केचाहिँ हो भने अहिले जसरी राजनीतिज्ञहरूलाई हामीले नकारात्मक दृष्टिकोणबाट मात्र प्रस्तुत गरिरहेका छौँ, यिनीहरू मानिस नै होइनन् जसरी विचारहरू व्यक्त गरिरहेका छौँ । उनीहरूका झीना–मसिना कुरामा टीका–टिप्पणी गरिरहेका छौँ भने राजनीति गर्नेहरूले पनि सत्ताकेन्द्रित सोचबाट मात्र हेरिरहेका छौँ । सत्तामा पुग्ने, अर्कालाई डोमिनेसन गर्ने कुरा मात्र राजनीति होइन । राजनीति भनेको साथी हुने हो । म आफुलाई सरल हिसाबले अघि बढाउन सक्छु, स्वार्थ र शक्ति मात्र सबै कुरा होइन । त्यसैले त्यस्तो असहज भएको छैन ।

सँगै चुनाव लड्ने प्रतिस्पर्धीहरूबीच आफूलाई कसरी आँकलन गरिरहनुभएको छ ?
हामीलाई जनताले दिएको पाँच वर्षको जनादेश हो, त्यो जनादेशमाथि टेकेर म अघि बढ्ने हो, अर्को कुरा म निर्वाचनमा उम्मेदवार हुनुभन्दा अघिदेखि तपार्इं आउनुपर्छ भन्ने अभिमत ठूलो छ, त्यो जनमत ठूलो छ । मैले जुन विचारको मतदातालाई भेट्दा पनि तपार्इं आउनुपर्थ्यो, आउनुभयो हामी खुसी छौँ भन्नुहुन्छ । त्यसैले हामीसँग बलियो जनमत छ । मप्रति मतदाताहरूको सद्भाव, प्रेम अनि सम्मान पनि छ, केही गर्न सक्छे भन्ने आशा र विश्वास पनि छ मप्रति ।

स्व.रवीन्द्र अधिकारीको नाम वाइडबडी तथा एनसेल काण्डमा जोडिएर आयो, स्वयं उहाँ पनि सत्यतथ्य बाहिर ल्याउँछु भन्नुहुन्थ्यो, उहाँमाथि लागेको त्यो आरोपलाई कसरी हेर्नुभएको छ ?
यो खोजबिनको विषय हो । हिजो हामीले खोजेका इभिडेन्सहरू हामीसँग छन् नि, आमजनताले त त्यो इभिडेन्स नै पढेको छ नि, चुनावी मुद्दाका लागि विपक्षीहरूले अनेकथरी भन्न सक्नुहुन्छ तर हामीसँग त्यो इभिडेन्स त छ, अब त्यो इभिडेन्समा टेकेर खोजी सुरु गर्नुपर्‍यो । भोलिका दिनमा त्यसको खोजी गर्न म आफू पनि लाग्छु । निर्वाचित भएर गैसकेपछाडि, त्यो प्रक्रिया अघि बढोस् भन्ने माग पनि गर्छु । मलाई के लाग्छ भने खोजबिनको प्रक्रिया जारी रहनुपर्‍यो । सम्बन्धित मानिसको अनुपस्थितिमा अर्थात जुन मानिस यो संसारमा छँदै छैन, उसमाथि आरोप लगाएर अघि बढ्नु गलत हो ।

उहाँमाथि लगाइएका आरोपलाई चिर्न सकिएला त ?
त्यसलाई चिर्न म लाग्नेछु । म के भन्न चाहन्छु भने यो कुरामा रवीन्द्र अधिकारी कुनै हिसाबले पनि दोषी होइन, आरोप लगाइएको मात्र हो, मिथ्या आरोप हो । त्यहाँ केही कमजोरी छ भने त सुरु गर्नुपर्‍यो नि खोजी गर्न, तर यो संसार नै छाडेर गैसकेको मानिसमाथि आरोप लगाउन पाइन्छ कि पाइँदैन ?

चुनावमा विपक्षीलाई कमजोर मान्नु हुँदैन, तपाई एउटा उर्जा लिएर अघि बढ्न खोज्दै हुनुहुन्छ तर नतिजा अपेक्षाकृत आउन सकेन भने तपार्इंको यात्रा कता जाला ?
जब कोही फस्ट ब्वाइ वा फस्ट गर्ल्स छ भने त्यो अर्को पटक फर्स्ट भैहाल्छ, ऊ सेकेन्ड होला भनेर हामी आशंका नै नगरौं । म जनताको जनादेश लिन आएकी छु, त्यो जनादेशलाई म सम्मान गर्छु । म चुनावमा भोलि के होला भन्दा पनि आजसम्म मैले जे देखिरहेकी छु अब्जर गरिरहेकी छु, त्यसका आधारमा भन्न सक्छु— सुनिश्चित छ । यद्यपि तपार्इंले भनेजस्तै चुनाव हो नतिजा केही भैहाल्यो भने फेरि मेहनत गर्ने र अर्को पटक फेरी फस्ट हुने प्रयास गर्ने । परिणाम जे भए पनि मेरो राजनीतिक यात्राचाहिँ निरन्तर अघि बढ्छ ।

विद्याजीले जितेपछि कास्की फर्कनु हुन्न भनेर आशंका गर्नेहरू पनि छन् नि ?
फर्कने कुरालाई कसरी लिने भन्ने हो । अहिले बच्चाहरू काठमाडौंमा पढ्दैछन्, बीचमा म काठमाडौं मै बसेँ । रवीन्द्रजी पनि त काठमाडौं–पोखरा गरिहनुभएको थियो, म पनि त्यस्तै योजना बनाएर जान्छु, तर अहिले त हामी एक–अर्कालाई आरोपित गरेर प्रतिस्पर्धा गरिरहेका छौं । निराधार आरोपहरू लगाएर, अनुमानका भरमा कुरा गरिरहेका छौं । त्यस्तो नगरौं, भोलि मैले काम गर्ने क्रममा गल्ती कमजोरी गरें भने त मलाई प्रश्न गर्ने हक जसलाई पनि छ । मैले के सोचेकी छु भने म सकेसम्म यहींकै जनतासँग एकाकार भएर अघि बढ्छु, यहींका जनतालाई समय दिन्छु ।

Page 6
साहित्य

सामाजिक सञ्जालमा हाइकु

- माधव घिमिरे

झरेको फूल
हाँगामा फर्कन्छ कि
हेर, पुतली
सामाजिक सञ्जाल फेसबुकमा एउटा पेज छ– हाइकु हाइकु हाइकु । साहित्य सिर्जनामा लागेका विभिन्न सर्जकले यसमा छोटा कविता (मुक्तकझैं लाग्ने) पोस्ट गर्छन् । अरूले त्यसमा आफूलाई लागेको कुरा लेख्छन्, केही नमिलेको भए मिलाउन सल्लाह दिन्छन् । धेरै सर्जकले तीन पंक्तिमा गरिएको रचना प्रस्तुत गर्छन् जसमा विकृति, विसंगति, दुःख, सुख, प्रेम, वियोग, परम्परा एवं नैतिक सन्देश आदि समेटिएको पाइन्छ ।
पहिले अनेक रुप भए पनि परिमार्जन हुँदै आएर हालको हाइकु पहिलो हरफमा पाँच अक्षर, दोस्रोमा सात अक्षर र तेस्रो हरफमा पाँच अक्षर गरी सत्र अक्षरको हुन्छ ।
कम शब्दमा धेरै भाव प्रकट गर्ने मुख्य विशेषता मानिने हाइकु जापानी शैलीको कविता हो । यसलाई सातौं, आठौं शताब्दीतिरको हाइकाइ शृंखलाको विकसित रूप पनि भनिन्छ । उतिबेलाका हाइकाइ शृंखलाका सुरुका तीन हरफलाई होक्कु भनिएकामा अचेल त्यसैलाई हाइकु भन्न थालिएको हो ।
यो शास्त्रीय संरचनामा बाँधिएको हुन्छ भनेर विभिन्न अभिलेखमा उल्लेख गरिएको पाइन्छ । कतिपयले हाइकुका लागि शास्त्रीय संरचना मात्र पर्याप्त नहुने कलात्मक ढंगबाट प्रस्तुत हुनुका साथै ओजिलोसमेत हुनुपर्ने कुरा बताएका छन् ।
उक्त पेजकी सदस्य मोरङ, बेलबारीकी रेखा सुवेदीले सोह्रश्राद्धका बेला पोस्ट गरिन्–
अलिनु छाक
घिउमा चैँ डुबुल्की
पितृको याद
निश्चित नियममा बाँधिएर लेख्नुपर्ने हाइकुमा माया–प्रेमका प्रसंग उत्तिकै समेटिन्छ भने कहिलेकाहीँ राजनैतिक विकृतिप्रतिको व्यंग्य पनि पाइन्छ । सुवेदीकै अर्को हाइकु यस्तो छ–
अन्तर्मनमा
मायाको गजुर
मेरो हजुर
अनियमितता र भ्रष्टाचारले गाँजेको समाजमा अरूजस्तै साहित्य सर्जक पनि प्रतिक्रिया व्यक्त गरिरहन्छन् । तिनलाई कहिले हास्यव्यंग्यात्मक पारामा पनि प्रहार गर्छन् । जानुका निरौला, सदानन्द बराल र सुष्मा दाहाल क्रमशः लेख्छन्–
भ्रष्टको देश
हावामा ग्यास बत्ती
बलेको छैन

छक्कापञ्जामा
राजनीति गरेको
दाउ लागेछ

सुस्ता हरायो
सत्तापक्ष बोल्दैन
बुद्धको देश

कतिपय सिर्जना शृंगारयुक्त पनि भेटिन्छन् । सर्जक लेखप्रसाद निरौला लेख्छन्–
ओठको लाली
घरवाली र साली
सुटुक्क आँखा

यसैगरी घनश्याम राना ऋतु लेख्छन्–
बैमानी आँखा
सिन्दुर पोते लाउ
बाटोघाटोमा

के हो हाइकु ?
छैटौं शताब्दीको अन्त्य र सातौं शताब्दीको आरम्भतिर चीनमा बौद्घ धर्मले ठूलो प्रभाव र प्रतिष्ठा पाइसकेको थियो । एक समयमा, बौद्घ धर्मावलम्बीहरू आफ्ना गुरुको निर्देशनमा चारैतिर छरिएर गुम्बाको चित्र बनाइरहेका हुन्छन् । घाम–छायाँ, रूखको फेदमा, ओरालीमा, पहाडको फेदमा, चट्टानको बीचमा सबैतिर पुगेर ध्यानीहरू प्रतियोगितात्मक चित्र बनाउन मग्न छन् । ती धेरै चित्रमध्ये गुम्बाको चित्र नै नभएको चित्रकला प्रथम हुन्छ ।
उक्त चित्रमा एउटा भिक्षु डाँडामाथि कुहिरोमा विचारमग्न देखिन्छ । त्यसैबाट गुम्बाको स्वरूप निस्कन्छ, कल्पनामा भिक्षुले गुम्बा हेरिरहेझैं लाग्छ । हामी गुम्बा देख्दैनौं, गुम्बा हेरिरहेको भिक्षुलाई मात्र देख्छौं, वास्तवमा हाइकुको आत्मा त्यही सम्भावनाको खालीपन हो ।
बौद्घ धर्म र हजारौं वर्षदेखि कवि–कलाकारहरूलाई प्रभाव पार्दै आएको ‘ताओवाद’ को संयुक्त प्रभावबाट हाइकुको धारणा जन्मिएको पनि बताइन्छ । यसको पछिल्लो रूपचाहिँ जापान पुगेर अनेकौं परिवर्तनपछि तयार भएको हो ।
सातौं शताव्दीमा थालिएको शृंखलाबद्घ ‘हाइकाइ’ लेखन क्रम बिस्तारै छोटिदै ५–७–५ संरचनाको ‘होक्कु’ सम्म आइपुग्यो । केही कविले प्रयोगस्वरूप १७ अक्षरीय संरचनामा मात्र लेख्न थाले । ५–७–५ को मात्र प्रयोग गरेर होक्कु लेख्ने चलन मुरोमाचीकालीन साहित्यिक युगमा देखा परेको थियो, तर त्यतिबेला शैलीगत अस्पष्टताका कारण होक्कुले फैलन पाएन । हाइकाइलाई समेत व्यंग्यात्मक प्रस्तुतिमा प्राथमिकता दिइरहेका बेला नवीन प्रयोग गरिए पनि त्यो व्यंग्यात्मकताको शिकार बन्न गयो । थप केही समय संक्रमणमा बित्यो, तर समयको गतिसँग यो शैलीले पनि स्पष्ट अभिव्यक्ति र कवितात्मक आस्वादन दिन थाल्यो । आरकिन्दा मोरिटाके (१४५२–१५४०) ले पहिलो पटक हाइकाइलाई होक्कु अर्थात् हाइकुमा रूपान्तर गरेको मानिन्छ ।
त्यतिबेला सत्र अक्षरीय संरचनालाई हाइकु भनिँदैनथ्यो, होक्कु मात्र भनिन्थ्यो । हाइकु नामाकरण भएको धेरै पछि हो । मोरिताकेले लेखेको एउटा हाइकु यस्तो छ :
झरेको फूल
हाँगामा फर्कन्छ कि
हेर, पुतली
उल्लेखित हाइकु नै जापानी साहित्यको पहिलो हाइकु हो भन्ने कुरा कतिपय अभिलेखमा उल्लेख छ । मोरिताकेलाई अर्का कवि यामाकाजी सोकान (१४६५–१५५३) ले पनि सहयोग गरेका थिए । यद्यपि हाइकाइ हास्य अभिव्यक्तिलाई काव्यात्मक आस्वादन पस्किने काममा भिन्न विचार राख्ने तत्कालीन उदीयमान कवि माचुनागा तोइतोकु तथा निशियामा सोइनले पनि प्रयास गरेका थिए तर उनीहरूको प्रयासले पूर्णता पाउन सकेको थिएन ।
कवि सियामा सोइन (१६०५–१६८२) ले हाइकाइको प्राचीन निरन्तरतालाई चुनौती दिए । उनी अरूभन्दा भिन्न ढंगबाट प्रस्तुत हुन चाहे । यसले गर्दा स्वतन्त्र रूपमा हाइकाइ लेख्ने युवा जमातले नियमहरू तोड्न थाले । यही कालका अर्का प्रसिद्घ कवि हुन्– इहारा साइकाकु (१६४२–१६९३) जसले ओसाका सहरमा एक रात बिदाउँदा २४ घण्टामा २३ हजार ५ सय पंक्ति रचना गरेको विकिपिडियाले उल्लेख गरेको छ ।
गृहयुद्घले ग्रसित तत्कालिन जापानी समाजमा काव्य रचना गर्नु निकै ठूलो उपलब्धि मानिन्थ्यो । त्यसमाथि पनि सैनिक शासनको नीति नै कवि र सिर्जनाको विपक्षमा थियो । त्यतिबेला दानरिन हाइकु विद्यालय प्रख्यात थियो । विद्यार्थीहरू पनि प्रशस्तै थिए । उक्त विद्यालयका कविहरू खास गरी स्वतन्त्र हाइकाइमा जोड दिन्थे, जसका नाइके कवि सियामा सोइन (१६०५–१६८२) थिए । सोइनले हाइकु लेखन शैलीदेखि लिएर वाचन शैलीसम्म सबै कुरा सिकाएका थिए । सन् १६६० मा सोइनले दानरिन हाइकु विद्यालय नखोलेको भए जापानी हाइकु अहिलेको अवस्थामा आउँदैन थियो भनेर अग्रज सर्जकहरूले उल्लेख गरेका छन् ।

साहित्य

लेख्नभन्दा सोच्न बढी समय चाहिन्छ

- साप्ताहिक संवाददाता

कविका रूपमा देखा परेका सन्तोष लामिछानेले पहिलो उपन्यास अल्टिमेट आकाश बजारमा ल्याएका छन् । यसअघि उनको कविता–संग्रह ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ प्रकाशित छ । लामिछानेको कर्मथलो अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहर हो । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनमा पब्लिक पोलिसी अध्ययन गरेका हुन् ।

लेखनमा कसरी प्रवेश गर्नुभयो ?
म सानैदेखि कविता लेख्थें । कान्तिपुरको कोसेली, साप्ताहिक आदिमा मेरा कविता छापिएका छन् । कविताबाट कथा अनि निबन्धमा हात हालें । सन् १९९९ मा सेन्ट जेभियर्स कलेज माइतीघरमा आईएस्सी पढ्दा त्यहाँको साहित्यिक त्रैमासिक पत्रिका ‘प्रवाह’ को कार्यकारी सम्पादक बन्ने मौका मिल्यो । २००२ मा स्नातक गर्न अमेरिका आएपछि पढाइ र काम गर्दै स्नातकोत्तर सकेपछि बल्ल सन् २०१४ मा पहिलो पुस्तक ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ प्रकाशित गरें ।

स्कुल, कलेज पढ्दा जीवनमा के बन्ने सपना थियो ?
म दार्शनिक बन्न चाहन्थें । आईएस्सी पढ्दादेखि अमेरिका अध्यनयका करिब १२ वर्षको समयमा आफ्नो कोर्सका पुस्तकभन्दा बढी मैले विविध दर्शन तथा धर्मका पुस्तक पढें ।

लेख्न बस्दाका आनिबानी बताइदिनुहोस् न ।
लेख्न वा पढ्न बस्दा म एकाग्र हुन्छु । एकान्त मन पराउँछु । प्रायः म सबै कुरा सोचिसकेर एकै बसाइमा लेखन पूरा गर्न रुचाउँछु । ‘अल्टिमेट आकाश’ कसरी लेख्ने होला भनेर मैले करिब तीन वर्ष सोचें, तर लेख्नचाहिं एक महिना मात्र लाग्यो ।

कुन समयमा लेख्न रुचाउनुहुन्छ ?
राति सबै सुतेपछि ।

तपाईंको प्रिय विधा ?
कविता ।

तपाईका प्रिय लेखक ?
कविमा दुर्गालाल श्रेष्ठ, भूपि शेरचन तथा लालगोपाल सुवेदी । आख्यानमा धनुषचन्द्र गोतामे, पारिजात अनि राजन मुकारुङ ।

अरूलार्ईर् कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
दर्शनमा निसर्गदत्तको ‘आइ.एम. द्याट’, एकहार्ट टोलेको ‘द पावर अफ नाउ’ । साहित्यमा चाहिँ धेरै छन् । यसमा आ–आफ्नो रुचिको कुरा पनि हुन्छ । नेपाली उपन्यासमा ‘दमिनी भीर’ मलार्ईर् मन परेको कृति हो । जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ तथा रमेशनाथ पाण्डेको ‘कूटनीति र राजनीति’ पनि मलार्ईर् खुब मन परेका पुस्तक हुन् ।

विदेशमा काम गर्दै लेख्न कत्तिको गार्‍हो हुन्छ ?
काम तथा पारिवारिक जिम्मेवारीले समय मिलाउन निकै मुस्किल हुन्छ ।

लेख्नका लागि कसरी समय छुट्याउनुहुन्छ ?
मैले अहिलेसम्म लेख्छु भनेर समय निकाली योजनाबद्ध रूपमा लेखेको छैन । सम्भवतः व्यवसायिक लेखक नभएकाले पनि होला । मनभित्रका भाव कहिलेकाहीं यसरी उर्लिएर आउँछन् कि लेख्ने समय कसरी–कसरी निस्कँदो रहेछ ।

नेपालीले विदेशमा बसेर लेखेका पुस्तकमध्ये कुन उत्कृष्ट लागे ?
योगमाया, भाया साक्रा । अरू कति पुस्तक पढ्न चाहेर पनि पाउन सकेको छैन ।

अब कुन पुस्तक तयार गर्दै हुनुहुन्छ ?
अर्को उपन्यास लेख्न मनमै कथा रच्दैछु । त्यसका लागि अनुसन्धान पनि गर्दैछु ।

Page 8
प्रविधि

क्वान्टम कम्प्युटर : कस्तो छ भविष्य ?

- साप्ताहिक संवाददाता

हालै गुगलद्वारा निर्मित क्वान्टम कम्प्युटरले गणितको एउटा जटिल प्रश्न केवल ३ मिनेट २० सेकेन्डमा हल गरिदिएको छ । यही समस्या हल गर्न संसारकै सबैभन्दा तेज सुपर कम्प्युटरलाई पनि कमसेकम १० हजार वर्ष लाग्न सक्छ । यसबाट पनि क्वान्टम कम्प्युटरको क्षमता स्पष्ट हुन्छ । त्यसैले पनि आगामी दिनमा क्वान्टम कम्प्युटरले विश्वमा निकै ठूलो हलचल ल्याउने अनुमान गरिएको छ ।
हाल सबैसँग हुने ल्यापटप वा डेस्कटप कम्प्युटर क्वान्टम कम्प्युटरको अगाडि केही पनि होइन । परम्परागत कम्प्युटरले शून्य वा १ स्विचिङ मोडमा काम गर्छ । कम्प्युटरमा फिट गरिएको सबै डाटा शून्य वा एकमा परिवर्तन भएर प्रोसेस हुन्छ । कम्प्युटरले सबै डाटालाई एकत्रित गरेर त्यसमै काम गर्छ, तर क्वान्टम कम्प्युटरले भने त्यसभन्दा एक कदम अगाडि बढेर शून्य र एकको सम्भावित कम्बिनेसन तथा सुपर इम्पोजिसनसमेत पढ्न सक्छ । त्यसैले यसको स्पिड परम्परागत कम्प्युटरभन्दा धेरै बढी हुन्छ । मानिसको दिमागले समेत सोच्न नसक्ने काम क्वान्टम कम्प्युटरबाट सम्भव हुन्छ ।
क्वान्टम कम्प्युटरको अवधारणा सन् १९८१ मा एर्गोन नेसनल ल्याबमा पल बेनीओफले तयार गरेका थिए । उनले क्वान्ट थ्यौरीमा आधारित भै कम्प्युटर बनाउन सकिने विचार प्रस्तुत गरेका थिए । यद्यपि त्यति बेला यो विषयमा त्यति ध्यान दिइएन । सन् १९८४ मा अक्सफोर्ड युनिभर्सिटीका डेभिड ड्युसले सोही विचारलाई तथ्यका आधारमा उपयुक्त भएको निष्कर्ष निकाले र त्यसमै आधारित हुँदै रिसर्च पेपर लेखे । त्यसपछि नै क्वान्टम कम्प्युटरको दौड प्रारम्भ भयो । हाल अमेरिका, चीन, रूसजस्ता देश मात्र नभएर गुगल, माइक्रोसफ्ट, आईबीएम जस्ता टेक कम्पनीहरूसमेत क्वान्टम कम्प्युटर निर्माण गर्ने दौडमा सामेल छन् ।
सन् १९०० मा म्याक्स प्लांकले ऊर्जा र पदार्थलाई सम्झिन क्वान्टम थ्यौरीको निर्माण गरेका थिए । त्यसकै आधारमा अणुभन्दा पनि साना फोटोन, प्रोटोन आदिको अध्ययन गरिएको थियो । यसअनुसार यी साना कणले एकसाथ ऊर्जा वा पदार्थका रूपमा लिन सक्छन् । एकै घटना पनि अलग–अलग ब्रम्हान्डमा अलग–अलग परिणाम हुन सक्छ । यसैलाई क्वान्टम ल भनिन्छ । यसैका आधारमा हाल क्वान्टम कम्प्युटर तथा नयाँ सुपर कम्प्युटर निर्माण भैरहेको छ ।
हाल मौजुदा प्रविधिका आधारमा क्वान्टम कम्प्युटर निर्माण गर्न सकिए पनि केही विशेष कुरामा भने ध्यान पुर्‍याउनु आवश्यक छ । जस्तो कि यसले परम शून्य अर्थात् माइनस २ सय ७३ दशमलव १५ डिग्री सेल्सियस तापक्रममा काम गर्छ । त्यसैगरी यसको प्रोग्रामिङमा पनि विशेष ध्यान दिनुपर्छ । यदि यसमा कुनै गल्ती भयो भने पूरै कम्प्युटर ध्वस्त हुन सक्छ र नतिजा पनि गलत आउन सक्छ । क्वान्टम कम्प्युटरले भविष्यको संसारलाई नयाँ दिशा दिने निश्चित छ । यद्यपि यसका लागि सावधानीका साथ सबै मिलेर काम गर्नु आवश्यक छ ।

प्रविधि

पाँचवटा क्यामेरायुक्त साओमी

- साप्ताहिक संवाददाता

साओमीले १०८ मेगापिक्सल क्यामेरायुक्त एमआई नोट १० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । हेर्दा अन्य सबै स्मार्टफोनजस्तै सामान्य देखिए पनि यो स्मार्टफोनमा पाँचवटा मुख्य क्यामरा छन् । त्यसैगरी यसमा १ सय ८ मेगापिक्सेलको क्यामेरा पनि छ । १ सय ८ मेगापिक्सेलको क्यामेरा जडान गरिएको यो पहिलो स्मार्टफोन हो ।
यसका पाँचवटा क्यामेरा लेन्समा १ सय ८ मेगापिक्सलको सेन्सर एउटा, ५ मेगापिक्सेलको जुम लेन्स, १२ मेगापिक्सेलको टेलिफोटो लेन्स, २० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स तथा २ मेगापिक्सेलको माइक्रो लेन्स छन् । यसको अगाडि पनि ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । १ सय ८ मेगापिक्सेलको उक्त सेन्सरको निर्माताचाहिँ सामसुङ हो । साओमीसँगको साझेदारीमा निर्माण गरिएको यो सेन्सरलाई केही महिनाअघि नै सार्वजनिक गरिएको थियो ।
उक्त सेन्सरको साइज र गुणस्तर निकै राम्रो भएकाले तस्बिर र भिडियो खिच्न निकै सहज हुनुका साथै गुणस्तरीय परिणामसमेत प्राप्त हुन्छ । यो स्मार्टफोनका अन्य फिचरमा ६ दशमलव ४७ इन्चको डिस्प्ले, स्नापड्र्यागन ७ सय ३०जी प्रोसेसर, ६ जीबी वा ८ जीबी र्‍याम तथा १ सय २८ जीबी इन्टरनल स्टोरेज प्रमुख छन् । त्यसैगरी यसमा ५ हजार २ सय ६० एमएएचको ब्याट्री जडान गरिएको छ । ६ जीबी र्‍याम तथा १ सय २८ जीबी इन्टरनल स्टोरेज भएको नोट १० प्रोको अन्तर्राष्ट्रिय बजार मूल्य ५ सय ४९ युरो तथा ८ जीबी र्‍याम र २ सय ५६ जीबी इन्टरनल स्टोरेज भएको नोट १० प्रोको अन्तर्राष्ट्रिय बजार मूल्य ६ सय ४९ युरो छ । यो स्मार्टफोन जर्मनी, स्पेन, इटाली आदि देशमा उपलब्ध हुन थालिसकेको छ भने छिट्टै अन्य युरोपेली देशमा उपलब्ध हुने बताइएको छ । यो फोन त्यसपछि मात्र अन्य देशमा उपलब्ध गराइनेछ ।

प्रविधि

ह्याकरको निशानामा १० स्मार्टफोन

- साप्ताहिक संवाददाता

टेक्नोलोजी न्युज वेबसाइट टेकक्रन्चले ह्याकरहरूको निशानामा भएका १० एन्ड्रोइड स्मार्टफोनको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा सामसुङ ग्यालेक्सी एस–८ प्लस, सामसुङ ग्यालेक्सी एस थ्री, सामसुङ नोट–२, हुवावे पी–८ लाइट, हुवावे नेक्सस–६ पी, गुगल पिक्सेल–२, एलजी जी–३, एलजी नेक्सस–५, मोटोरोला नेक्सस–६ तथा एचटीसी डिजायर–१० लाइफस्टाइल छन् । यी स्मार्टफोनमा भएका विभिन्न कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले आईएमईआई नम्बर हासिल गर्ने, कल रोक्ने, कुनै अर्को नम्बरमा कल फरवार्ड गर्ने, कलिङ फिचरलाई ब्लक गर्ने वा इन्टरनेट एक्सेस बन्द गर्ने आदि काम गर्छन् । सेक्युरिटी रिसर्चरहरूका अनुसार ह्याकरहरूले ब्लुटुथ तथा यूएसबी एसेसरिज प्रयोग गरी स्मार्टफोनलाई आफ्नो सिकार बनाउँछन् ।

प्रविधि

मिनी चितुवा रोबोट

- साप्ताहिक संवाददाता

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले चार खुट्टा भएको यस्तो रोबोट बनाएको छ, जसले एक सेकेन्डमा ३० पाइला चाल्न सक्छ । यसका साथै उक्त रोबोट १४ किलोमिटर प्रतिघण्टाको स्पिडमा दौडन सक्छ । उक्त रोबोटको नाम ‘मिनी चितुवा’ राखिएको छ ।
हालै उक्त रोबोटले फुटबल खेलेको भिडियो समेत सार्वजनिक भएको छ । यो रोबोट कुनै पनि स्थितिमा सीधा हुन सक्छ र सन्तुलन गुमाए पनि अगाडि वा पछाडि सरेर फेरि दौडिन सक्छ । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर सेंगबेई किमले युट्युबमा अफ्रिकी चितुवा देखेपछि त्यसैबाट प्रभावित भएर आफ्ना विद्यार्थीलाई त्यस्तै रोबोट बनाउन लगाएको बताइन्छ । यद्यपि अफ्रिकी चितुवा र मिनी चितुवाको स्पिडमा १० गुणा फरक छ । त्यसैगरी यो रोबोट लड्दा फेरि सीधा गराउन चुनौतीपूर्ण हुने र हावामा ३ सय ६० डिग्री घुमाउन पनि कठिनाइ हुने बताइएको छ ।

प्रविधि

पाँच वर्ष पहिले नै स्तन क्यान्सरको पहिचान

- साप्ताहिक संवाददाता

बेलायतमा गरिएको एक अनुसन्धान अनुसार शरीरमा स्तन क्यान्सर हुनुभन्दा पाँच वर्ष पहिले नै यसको पहिचान गर्न सकिने छ । यसबाट विशेष गरी स्तन क्यान्सरबाट पीडित हुने महिलाहरूलाई राहत मिल्नेछ । अनुसन्धानकर्ताहरूले स्तन क्यान्सरको उपचार गराइरहेका ९० जना र पूरै स्वस्थ ९० जना महिलाको रगतको नमुना संकलन गरेका थिए । त्यसैगरी उनीहरूले अब ८ सय बिरामीको नमुनासमेत ल्याएर पहिले गरिएको परीक्षणलाई प्रमाणित गर्ने तयारी गरिरहेका छन् । नटिंघम विश्वविद्यालयका विद्यार्थीहरूले यसबाट विशेष गरी विकासोन्मुख तथा गरिव देशका महिलाहरूलाई विशेष फाइदा हुने कुरा बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष करिब २१ लाख महिला स्तन क्यान्सरको सिकार हुन्छन् । गत वर्ष स्तन क्यान्सरका कारण विश्वभर ६ लाख २७ हजार महिलाको मृत्यु भएको थियो ।

Page 9
केवल एक प्रश्न

कालापानी मुद्दामा नेपालले अब के गर्नुपर्ला ?

- साप्ताहिक संवाददाता

सामरीक हिसाबले हेर्ने हो भने नेपाल अहिले संसारकै कमजोर देशहरूको अग्रपंक्तिमै होला । सबैलाई विदितै छ कि हामी शक्ति प्रयोग गरेर गुमेको कुनै पनि भू–भाग फिर्ता ल्याउन सक्दैनौँ । संकट कस्तो पनि छ भने यही कालापानीको विषयमा नेपालले चीनसँग समेत सहयोग लिन सक्दैन, किनभने कालापानी र लिपुलेकमा चीनको आफ्नै स्वार्थ जोडिएको छ । कालापानी समस्या सुल्झाउने एकमात्र उपाय भनेको कूटनैतिक पहल हो । कूटनीतिकै माध्यमबाट संसारभरका शक्तिराष्ट्रहरूमार्फत भारत माथि नैतिक दबाब सिर्जना गरी कालापानीबाट भारतीय सेना फिर्ता गराउनु एकमात्र विकल्प देखिन्छ किनभने नेपालले सोझै अनुरोध गर्दैमा भारतीय सेना फिर्ता भैहाल्छ भनेर सोच्नु गलत हुनेछ । अब कुरा रह्यो त्यो स्तरको अन्तराष्ट्रिय कूटनीतिक क्षमता एवं दक्षता नेपाली कूटनीतिज्ञहरूसँग छ त ? शक्ति वा अन्य महत्वका हिसाबले अरू देशले नेपालका लागि भारतलाई दबाब देलान् त ? अथवा हामीसँग भएको त्यस्तो कुनै महत्वपूर्ण खुबी प्रयोग वा कुनै भिटो पावर लगाएर नेताहरूले भारतलाई कालापानी छोड्न बाध्य बनाउन सक्लान् त ? अहँ, यी कुनै पनि कुरा सम्भव देखिँदैन, तसर्थ अब जनस्तरबाट कालापानी हाम्रो हो भनेर आवाज उठाउने र जो प्रतिपक्षमा हुन्छ, उसले त्यो आवाजलाई समर्थन गर्ने अनि त्यसैलाई चुनावी मुद्दा बनाएर सरकारमा पुग्ने अनि सरकारमा पुगिसकेपछि कानमा तेल हालेर निदाउने । कालापानी मुद्दामा नेपालले गर्न सक्ने भनेको यत्ति हो । नेताहरूले यो मुद्दालाई पनि चुनावमा उपयोग गरेरै छोड्छन् र आफ्नो स्वार्थअनुकूल नै प्रयोग गर्नेछन् । कालापानीबाट भारतीय सेना हटोस् र नक्सामा गुमेको भूभाग फिर्ता होस् भन्ने भित्री इच्छा सबै नेपालीको मनमा कायम रहनेछ र वर्षौं–वर्ष त्यो इच्छा अधुरै हुनेछ । बरु नेपाल सरकारले तत्काल सीमा सुरक्षा बल गठन गरी भारतसँग सीमा जोडिएको पुरै स्थानमा तैनाथ गरेर थप भूमि गुम्न रोक्ने पहल गरोस् । गुमिसकेको भूमिचाहिँ फिर्ता आओस् भन्ने कामना मात्र गर्न सकिन्छ, यथार्थ यही हो ।
दुर्गा पंगेनी, गीतकार

नेपालले यो विवादलाई सकेसम्म द्विपक्षीय वार्ताबाट सुल्झाउनुपर्छ । भारतको अन्य छिमेकीसँग पनि सीमा विवाद बढेको देखिन्छ । त्यसैले संयुक्त राष्ट्रसंघ अथवा अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई छिट्टै सुल्झाउन आवश्यक छ ।
आशिष अविरल, म्युजिक एरेन्जर

भारत सरकारसँग कुरा गरी यो समस्या छिटोभन्दा छिटो सुल्झाउनुपर्छ । चुप लागेर होइन वार्ता गरेर नै यो समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्छ ।
विक्रान्त मेहता, गायक तथा चिकित्सक

सबै नेपाली एक भएर संयुक्त राष्ट्रसंघमा मुद्दा हाल्नुपर्छ ।
कविर खड्का, अभिनेता

नालापानीमा जसरी आफ्नो बहादुरी देखाएका थियौं, त्यसैगरी सम्पूर्ण नेपाली एकजुट भएर एकपटक आफ्नो सीमा रक्षार्थ अघि बढ्नुपर्छ ।
राजनराज शिवाकोटी, गायक तथा संगीतकार

नेपालले कसरी हुन्छ आफ्नो अडानमा रहेर सम्पूर्ण नेपालीहरूको खुसीका निम्ति पहल गर्नुपर्‍यो ।
हिमाल सागर, गायक

छिमेकी देशहरूले नेपालको सीमा मिचेर आफ्नो बनाउन खोजेको धेरै भैसकेको छ । अहिले त हुँदा–हुँदा भारतले नेपाली भूमि मिचेर आफ्नो नक्सामा समावेश गरिसक्यो । नेपालीहरूले सहेर बस्ने होइन, एकजुट भएर आवाज उठाउनुपर्छ । अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर भए पनि न्यायका लागि पहल गर्नुपर्छ ।
जाहन्वी बस्नेत, अभिनेत्री

पहिले दुई पक्षबीच छलफल हुनुपर्छ, त्यसपछि अन्तर्राष्ट्रिय अदालत जानुपर्छ । हाम्रा दुईवटा ‘स’ मा आक्रमण हुँदैछ । पहिलो सिमाना, दोस्रो संस्कृति । दोस्रो त बचाउन सरकारले पहल गर्न सक्दैन, पहिलोचाहिँ बचाउनुपर्‍यो ।
दीपकराज गिरी, अभिनेता

नेपालको राजधानी कालापानीमा सारिदिए उत्तम हुन्छ ।
पृथ्वीराज प्रसाईं, अभिनेता

पहिलो कुरा नेपालीहरूबीचमै एकता हुनुपर्छ । दोस्रो कूटनैतिक रूपमा भारतलाई दबाब दिने । तेस्रो राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्च मार्फत दबाब बढाउने । यदि भारतले १, २, ३ छोड्दिन भन्छ भने युद्धका लागि पनि तयार रहनुपर्छ ।
राजाराजेन्द्र पोखरेल, हास्यकलाकार

दुई देशबीच उच्च स्तरमा वार्ता गरी समस्या समाधान गर्नुपर्ला या त संयुक्त राष्ट्रसंघको सहयोग माग्नुपर्ला ।
मुकुन भुषाल, अभिनेता

कूटनैतिक पहल नै हो, जुन नेपाल सरकारका लागि फलामको चिउरा चपाउनुभन्दा गार्‍हो छ ।
हेमन्त शर्मा, गायक

सरकारले नै आफ्नो नापी नक्सासहित आफ्नो भू–भागका सम्बन्धमा राष्ट्र प्रमुखसँगै वार्ता गरेर उताको मुख्य व्यक्तिले स्वीकार गरेको लिखित तथा भिडियो आमनेपालीले हेर्न पाउनुपर्‍यो । यो मामिलामा भारतले नेपालसँग क्षमा पनि माग्नुपर्छ ।
निर्मल शर्मा, अभिनेता

सरकारले छिटोभन्दा छिटो एक्सन लिनुपर्छ । हामी सामान्य जनताको मुटु दुखेर मात्र कुनै समाधान निस्कन सक्दैन । त्यसैले सरकारको मुटु दुख्नुपर्‍यो, यस्तो गम्भीर विषयलाई नसुनेझैं र
नदेखेझैं गर्नु भएन ।
शान्ति श्री परियार, गायिका

राजनीतिक पहल गर्ने, दबाब दिने, छलफल गर्ने, सम्पूर्ण नेपाली दाजुभाइ एक हुने, केही सीप लागेन भने अन्तर्राष्ट्रिय अदालत जाने ।
किरण केसी, अभिनेता

नेताले भारतको पछि लाग्न छोड्नुपर्छ । हामी नेपालीहरू एक भएर फेरि भारतको दादागिरी तोड्नुपर्छ । नेपाल आमाको रक्षा गर्न कुनै पनि कुरामा चुक्नु हुँदैन ।
दिनेश काफ्ले, हास्यकलाकार

कुनै पनि सीमा विवादको समाधानका तीन अप्सन १. युद्धबाट (जुन संभव भएन) २. दुईपक्षीय वार्ता अर्थात् आपसी सहमतिबाट । भन्नुको अर्थ सीमा आयोग आदिबाट तथ्य प्राप्त भएपछि सीमा निर्धारण । परन्तु क. एक पक्षको सुरक्षाहेतु अत्यावश्यक भए लिजमा ख. सट्टापट्टा ग. वा सगरमाथा झैं आधाआधी गर्ने । ३. तेस्रो पक्ष वा युएनमार्फत कमिसन गठन र सीमा निर्धारण । नेपालले आजसम्म औपचारिक रूपमा बाइल्याटरल समाधानका लागि केही पनि गरेको छैन । भेडा जनतालाई बेलाबखत उल्क्याएर दुनो सोझ्याउने एउटा हतियार हो– कालापानी । हाम्रो हो भने यसको औपचारिक प्रक्रिया थालिनुपर्छ । आन्दोलन, भाषण वा नाटकले सीमा विवाद समाधान हुँदैन । बाइल्याटरल बोर्डर कमिसनको फाइन्डिङ नआएसम्म हरेकको दाबी दाबीमा मात्र सीमित रहन्छ ।
राजेन्द्र थापा, गीतकार

कालापानी हाम्रो सान हो, यो हाम्रो भूमि बचाउन नेपालले आफ्नो आधिकारिक धारणा विश्व मञ्चमा उठाउनैपर्छ । हामी सधैं थिचोमिचोमा बस्न सक्दैनौं । यदि सरकारले कदम चाल्दैन भने जनता आफैं कदम चाल्न बाध्य हुनेछन् ।
चन्द्रमणि गौतम, सञ्चारकर्मी

द्विपक्षीय वार्ताबाट समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ ।
सुनिता दुलाल, गायिका

कूटनीतिक पहल एवं अन्तर्राष्ट्रिय दबाबबाट समस्या समाधान गर्नुपर्छ ।
केदार घिमिरे, अभिनेता

कूटनीतिक पहल गर्नुको विकल्प के होला र ?
सुमन कार्की, हास्यकलाकार

कूटनीतिक माध्यमद्वारा सीमा निर्धारण एवं व्यवस्थापन गर्ने । अर्को कुरा जनतालाई उचालेर फोस्रो राष्ट्रवादी नबनी नेपाल सरकारले सोझै भारत सरकारसँग आफ्नो कुरा राख्ने र सीमा विवाद समाधान गर्ने ।
अमर न्यौपाने, साहित्यकार

भारतले नेपाल मात्र होइन, आफ्ना अन्य छिमेकी मुलुकहरूको पनि सीमा मिच्दै गैरहेको छ । जम्मु कश्मिरलाई भारतीय भूमि दाबी गर्दै जारी गरिएको नयाँ नक्सामा नेपालको भूमिसमेत मिचिएको छ । नेपाल सरकारले भारत सरकारसँग आफ्नो भूमि मिचिएको विषयमा आवाज उठाउनुपर्छ । यदि भारतले अटेर गरेको अवस्थामा अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्नुपर्छ ।
बादल घिमिरे, साहित्यकार

Page 10
संगीत

लालुमैले चिनिएका गायक

- कृष्ण भट्टराई

कहाँ गयो जुरेली, किन गीत गाउँदैन,
तिम्रो जति माया त लालुमै किन होला कसैको लाग्दैन...’
अघिल्लो वर्षको भ्यालेन्टाइन्स डेको दिन युट्युबमा अपलोड गरिएको ‘लालुमै...’ शीर्षकको एउटा लोक–दोहोरी गीतको शब्द हो यो । संगीतकर्मी शिव हमालको नाममा खोलिएको शून्य सब्सक्राइबरसहितको उक्त च्यानलमा सबैभन्दा पहिले अपलोड गरिएको गीतको भिडियो पनि लालुमै... नै थियो । आजको मितिमा उक्त च्यानल सब्सक्राइब गर्नेहरूको संख्या नै १ लाख ५८ हजार पुगेको छ भने उक्त भिडियो २ करोड ४० लाख पटक हेरिएको छ । आठ महिनाको अवधिमा यो गीत यति लोकप्रिय भयो कि यसका गायक सन्दीप न्यौपानेको करिब १४ वर्षको सांगीतिक करियरकै टर्निङ प्वाइन्ट बन्न पुग्यो । शिव हमालको शब्द तथा संगीतको उक्त गीतमा गायक न्यौपानेलाई गायिका विष्णु माझीले साथ दिएकी छिन् ।
दाङमा जन्मिएका गायक तथा मोडल हुन्— सन्दीप न्यौपाने । २०६२ सालमै दोहोरी गीत प्रतियोगितामा सहभागिता जनाउँदै सांगीतिक क्षेत्रमा उदाएका गायक न्यौपानेले स्टुडियोमा गीत रेकर्ड गर्नुअघि नै टुबोर्ग लोकदोहोरी प्रतियोगितामा दोस्रो तथा ढोरपाटन लोकदोहोरी प्रतियोगितामा पहिलो स्थान हासिल गरिसकेका थिए । उक्त अवधिमा दर्जनौं दोहोरी प्रतियोगितामा सहभागिता जनाएका गायक न्यौपानेले स्टुडियोमा भने २०६९ सालमा पहिलो पटक एउटा लोक दोहोरी गीत रेकर्ड गराएका थिए— दिल मेरो चोरी लै’गो पुलिसवालाले... । गायिका पूर्णकला बीसीसँगको उक्त गीत लोकप्रिय भयो, तर गायक न्यौपानेलाई भने कसैले पनि चिनेनन् । पहिलो गीतको सफलतापछि गायक न्यौपानेले म्युजिक भिडियोको अभिनय तथा लोकदोहोरीको रेकर्डिङलाई जारी राखे । यो अवधिमा उनले झन्डै १ सयभन्दा बढी आधुनिक, पप तथा लोकदोहोरी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने ५० भन्दा बढी लोकदोहोरी गीत रेकर्ड गराइसकेका छन् । न्यौपानेका दुईवटा गीति एल्बमसमेत सार्वजनिक छन् ।
‘सांगीतिक क्षेत्रमा क्लिक हुन एउटा गीत नै पर्याप्त हुँदो रहेछ, उनी भन्छन्– लालुमै गीतको लोकप्रियतापछि स्वदेशका अधिकांश मेला–महोत्सवहरूमा प्रस्तुत भैसकेका गायक न्यौपाने यही गीतका कारण कतार, दुबई तथा अस्ट्रेलियासम्म पुगिसकेका छन् । प्रकाश भट्टद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक छ । गोदावरी भिलेज रिसोर्टमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेत्री सृष्टि खड्का एवं गायक सन्दीप न्यौपानेले आकर्षक अभिनय गरेका छन् ।
लालुमैको सफलता यतिमै रोकिएको छैन । गायक तथा मोडलका रूपमा गायक न्यौपानेले राप्ती म्युजिक एवार्ड तथा कालिका म्युजिक एवार्डसमेत जितिसकेका छन् भने निकट भविष्यमै वितरण गरिने विन्ध्यवासिनी म्युजिक एवार्ड तथा म्युजिकखबर म्युजिक एवार्डमा क्रमशः ११ तथा ७ वटा विधामा मनोनीत भएका छन् ।
‘लालुमैको सफलतापछि सांगीतिक जिम्मेवारी बढेको अनुभव गर्न थालेको छु,’ साप्ताहिकसँगको भेटमा गायक न्यौपाने भन्दै थिए— ‘त्यसैले आउँदो भ्यालेन्टाइन्स डेकै दिनका लागि लालुमैको समूहले अर्को एउटा गीत तयार पार्ने योजना बनाएका छौं ।

संगीत

सुगम संगीत पछ्याउँदै मनीषा

- रमेशचन्द्र अधिकारी

काली तिम्रो नजरैले..., खासै राम्रो नाच्न त जान्दिनँ म..., म त पिरिममा पर्‍या छु...तथा ..एक एक जोडे दुई.. जस्ता दर्जनौं गीतका माध्यमले आफ्नो पहिचान बनाएकी गायिका मनीषा पोखरेल अब फरक रोजाइमा छिन् । स्वरसम्राट् नारायणगोपालको गीत जति पटक सुने पनि नथाक्ने पोखरेल आफू कालजयी गीतको पक्षमा भएको बताउँछिन् । उनले स्वर दिएका दर्जनौं चलचित्रका गीतमध्ये अधिकांश बालकदेखि वृद्धसम्मको ओठमा झुन्डिने गरेका छन्, तैपनि स्वर्णिम गीतले नै नेपाली सांगीतिक क्षेत्रलाई उचाइमा पुर्‍याउने उनको ठहर छ । यति बेला आफ्नै रचना तथा संगीतमा स्वर दिन व्यस्त पोखरेल आगामी दिनमा नारायण गोपाल तथा अरुणा लामाको पदचिन्ह पछ्याउने चाहना राख्छिन् ।
छोटो आयु बोकेका गीतले क्षणिक सन्तोष दिए पनि तिनको दीर्घकालीन उचाइ नहुने मनीषा बताउँछिन् । नेपाली गीतको मौलिकतालाई सुगम संगीत तथा लोकलयले मात्र न्याय गर्ने उनको तर्क छ । चलचित्रका सुगम संगीत पनि दीर्घायु हुने उनको दाबी छ । तानपुरा र हार्मोनियममा दैनिक दुई/अढाई घण्टा रियाज गर्ने पोखरेल शास्त्रीय संगीतमा भिजेर मात्र गीत गाउन सकिने कुरा बताउँछिन् ।
चलचित्र जात्रैजात्रामा समेत स्वर दिएकी मनीषाले व्यवसायिक रूपमा सबै प्रकारका गीत गाउँदै आएकी छिन्, तर उनका अधिकांश गीत चटपटे तथा बोल्ड प्रकारका छन् । आफूले थाहा पाएदेखि नै गीत गाउन थालेको बताउने मनीषा २०५८ सालदेखि औपचारिक रूपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन् । बाल्यकालमा आमा गंगाले गुनगुनाएका गीत तथा भजन अनि बाबु मोहनप्रसादले रेडियो बजाउँदा सुनेको गीतबाट प्रभावित भएको स्मरण गर्छिन् । उनले हिम्मतवाली, रावण, हमेसा, रामप्यारी, गरुढ पुराण, यो साइनो मायाको, आकाशगंगा, सौभाग्य, नतिजा, कर्मा, सुनको बिहानी, दमदार, च्याम्पियन आदि चलचित्रमा स्वर दिएकी छिन् । २०६८ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता तथा २०६१ को रेयुकाई आइडलमा पहिलो स्थान हात पारेकी मनीषाले त्यसपछि हालसम्म ११ सयवटा गीत गाइसकेकी छिन् भने भाषागत रूपमा नेपालीका अतिरिक्त भोजपुरी, मैथिली, बंगाली, थारु, हिन्दी आदि भाषाका गीत गाएकी छिन् ।
आफ्ना संगीतका गुरु कुशेश्वर राईको प्रेरणा भुल्न नसक्ने मनीषा संगीत क्षेत्रमा लागेर कहिल्यै पछुतो नलागेको कुरा बताउँछिन् । नेपाली गीत संगीतको भविष्य आशालाग्दो छ, उनले भनिन्— निरन्तता दिन सके सुगम संगीतकै बाटोबाट उचाइ लिन सकिन्छ ।

संगीत

देश दुखेको बेला

- साप्ताहिक संवाददाता

गायक रामकृष्ण ढकालले राष्ट्रभक्ति पूर्ण गीत गाएका छन् । कालापानीलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको वर्तमान अवस्थामा गायक ढकालले हाम्रो सुस्ता–कालापानी शीर्षकको गीतको म्युजिक भिडियो तयार पारेका हुन् । दीपकराज विश्वकर्माको संगीत निर्देशनको उक्त गीत विष्णु पौडेल तथा सरिता शर्माले रचना गरेका हुन् । उता सपना गुरुङ, कुमार पौडेल, जीवन बडु तथा विवेक चौलागाईंले ‘कालापानी हाम्रै हो....’ गीत यसै साता सार्वजनिक गरेका छन् ।

संगीत

बाबु अब निर्देशक

- साप्ताहिक संवाददाता

गायक बाबु बोगटी म्युजिक भिडियो निर्देशक बनेका छन् । विगतमा म्युजिक भिडियोदेखि चलचित्रसम्मको अभिनयको अनुभव हासिल गरिसकेका गायक बोगटीले नाटक तथा टेलिफिल्महरूमा समेत अभिनय गरिसकेका छन् । यसबीच उनले आफ्नै पुरानो गीत ‘जमुना जमुना...’ लाई रि–रेकर्डिङ गर्दै उक्त गीतको म्युजिक भिडियो आफैंले निर्देशन गरेका छन् । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा मुन प्रसाईं, रिया क्षेत्री, दीपेन्द्र सोनाम तथा युवराज खतिवडाले अभिनय गरेका छन् ।

Page 11
सामाजिक सञ्जाल

सामाजिक सञ्जाल

- साप्ताहिक संवाददाता

बोल्ड अवतार : मुम्बईमा भएकी अभिनेत्री सुरबिना कार्कीको बोल्ड रूप । 

घोडचढी : निर्देशक श्याम भट्टराई आफ्नी नवविवाहिता धर्मपत्नीसँग जोमसोममा । 

 

विगत केही दिनदेखि भारत र नेपालबीच कालापानी आदिको विषयलाई लिएर विवाद बढेको छ । यसो हुनुमा पूर्वाषाढा नक्षत्रमा भ्रमण गरिरहेका शनि र आद्रा नक्षत्रका राहु ग्रह नै कारक हुन् भनेर ज्योतिष शास्त्र पढेकाहरूले बुझेका छन् र यो समस्या तत्काल कुनै ठोस निष्कर्षमा पुगेर समाधान हुने पनि छैन ।
सुनील सिटौला

 

मेची बाँधूँ, काली बाँधूँ, सिमानाका जङ्गे पिलर बाँधूँ ।
सुस्ता बाँधूँ, लिपुलेक बाँधूँ, स्वाधीनताका किलर बाँधूँ ।।
कालापानी बाँधूँ, तिलाठी बाधुँ, घुसपैठका प्वाल बाँधूँ ।
देशका चारै सुर बाँधूँ, राष्ट्रिय एकताको वाल बाँधूँ ।।
मनोज गजुरेल

 

हामी धेरैजसो नेपाली फिल्मकर्मी ठूलो विषय ताक्छौं । मानौं, विषय भव्य हुनासाथ फिल्म पनि भव्य हुन्छ । जबकि, कसैले वास्तै नगरेका सानो र जाबो भनिने विषयमा पनि भव्य फिल्म बनाउन सकिन्छ । उदाहरण खोज्नुपरे हिन्दी फिल्म बाला हेर्नुस् । युपीका निर्देशक अमर कौशिकले धेरैको दिमागमा बत्ती बालिदिएका छन् । मैले यो वर्ष हेरेकामध्येको उत्कृष्ट हिन्दी फिल्म यही हो ।
दीपेन्द्र लामा

 

साताको यूट्युब ट्रेन्डिङ

१. अक्षय कुमारको म्युजिक भिडियो
२. चलचित्र रोमियो जुलियट
३. नेपाली चलचित्र सरौतोको गीत
४. द भ्वाइस अफ नेपाल सिजन–२ (भाग–२५)
५. कालापानी र लिपुलेकका बारेमा भविष्यवाणी
६. सीमा विवादको टुंगो नलगाए
७. सजनराज वैद्य ः कुराकानी
८. नेपाली चलचित्र भिलेन
९. हास्यश्रृंखला सक्किगो नि (भाग–८)
१०. तिलक बस्नेतको गीत रनभुल

Page 12
अनुभव

भारतमा नेपाली चलचित्रको प्रदर्शन

- साप्ताहिक संवाददाता
यशराज गरच, अभिनेता

नेपालमा बलिउड तथा हलिउडका चलचित्र सातैपिच्छेजसो प्रदर्शन भैरहन्छन् । ती चलचित्रलाई नेपालमा प्रदर्शनका लागि यहाँका वितरकहरूले अधिकार लिएका हुन्छन् । ती चलचित्रलाई नेपालमा प्रदर्शन गराउन चलचित्रका निर्माता, निर्देशक वा कलाकार नेपाली नैै हुन आवश्यक छैन । मैले चलचित्रको छायांकनका लागि केही देश जाने मौका समेत पाएको थिएँ । यद्यपि यसपटकको भारत यात्रा मेरा लागि फरक भयो । आफू अभिनित चलचित्र ‘लभ यू हमेसा’ को प्रमोसन तथा रिलिजका लागि पहिलो पटक म, चलचित्रकी दुई अभिनेत्री ऋचा थापा, फिजा योन्जन तथा छायाँकार शिव ढकाल नेपाल बाहिर गएका थियौं । चलचित्रका निर्माता तथा निर्देशक भारतकै भएकाले नेपाल रिलिजअघि नै यो चलचित्रको माग भारतको दार्जीलिङ, सिलिगुडी, कालिम्पोङबाट भैसकेको थियो । हामीले कोलकातामा चलचित्रको सेन्सर गराएर दार्जीलिङ तथा सिलिगुडीका दर्शकलाई देखाइसकेका छौं भने आगामी शुक्रबार कालिम्पोङमा रिलिज गर्दैछौं ।
नेपालमा चाडबाडको माहौलले गर्दा निकै तनावपूर्ण अवस्थामा काम गर्नुपर्‍यो । यता चलचित्र सेन्सर नगरी कोलकातामै चलचित्र सेन्सर गर्‍यौं । नेपाली भाषा बुझ्ने तीन जना मानिस तथा सेन्सर बोर्डका सदस्यहरूले चलचित्र हेर्नुभयो । नेपालमा चलचित्र सेन्सर गर्दा चलचित्रका निर्माता एवं निर्देशक पनि हलमा बस्ने चलन छ, तर भारतमा भने त्यस्तो नियम रहेनछ । चलचित्रभन्दा बाहिरका मानिसले मात्र चलचित्रको सेन्सर हेर्न पाउँदा रहेछन् । चलचित्रको सेन्सर भैसकेपछि सेन्सर हलबाहिर निस्कँदा सेन्सर सदस्यले चलचित्र अत्यन्त राम्रो बनेको प्रतिक्रिया दिनुभयो । हामीले फोनमै कुराकानी गरेर सेन्सरको समय मिलाएका थियौं । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पायौं ।
चलचित्र सेन्सरपछि दर्शकहरूबाट पनि राम्रो चलचित्र बनाएको प्रतिक्रिया पाइयो । दार्जीलिङ–सिलिगुडीमा बच्चादेखि वृद्धावस्थासम्मका दर्शक हाम्रो चलचित्र हेर्न आउनुभएको थियो । उहाँहरू फ्रेस नेपाली चलचित्र हेर्न चाहनुहुँदो रहेछ । त्यहाँ चलचित्र हेरिसकेपछि ताली बजाउने चलन रहेछ । चलचित्र हेरेपछि दर्शकबाट यसको सिरिजको माग भयो । उहाँहरूले जहाँ कथा सकिएको छ, त्यहीबाट नयाँ कथा सुरु हुनुपर्ने सल्लाह दिनुभएको छ । दर्शकको मागका विषयमा निर्माता, निर्देशक तथा कलाकारहरू बसेर सरसल्लाह गरिरहेका छौं । मलाई लाग्छ, चाँडै नै यसको दोस्रो भागको घोषणा हुनेछ ।
भारतमा अहिले पनि चलचित्र लभ यु हमेसा चलिरहेको छ । भारतीय वितरक भयो भने मात्र भारतीय बजारमा नेपाली चलचित्र प्रदर्शन गर्न सजिलो हुँदो रहेछ । त्यसो भयो भने नेपाली चलचित्रको बजार विस्तारमा सहयोग पुग्ने रहेछ । विदेशमा चलचित्र रिलिज झन्झटिलो मानिन्छ, तर मेरो अनुभवमा सबै प्रक्रिया पुर्‍याएर विदेशमा चलचित्रको सेन्सर तथा प्रदर्शनको वातावरण मिलाइयो भने त्यस्तो झन्झट बेहोर्नु पर्दैन ।

ह्याप्पी बर्थ डे

ह्याप्पी बर्थ डे

- साप्ताहिक संवाददाता

अभिनेता अर्पण थापाको जन्मदिन आज शुक्रबार हो । त्यस्तै अर्का गायक तथा अभिनेता यश कुमारले भोलि जन्मदिन मनाउँदै छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आउँदो सोमबार आफ्नो जन्मदिन मनाउने छिन् भने हास्य कलाकार पूर्ण थापाको जन्मदिन बिहीबार हो । यी सेलेब्रेटीहरूको जन्मदिनको अवसरमा उनीहरूका साथीभाइ तथा सहकर्मीले साप्ताहिकमार्फत दिएको शुभकामना :

 

अर्पण थापा मान्छे एक क्षमता अनेक भनेजस्तै कलाकार हुन् । नेपाली चलचित्र जगतमा हिरो भनेको जहिले डयाङडुङ मात्र गर्ने पात्रका रूपमा स्थापित भएका बेला अर्पण थापाजस्ता कलाकारको आगमनले चलचित्रको अभिनेता भनेको जस्तो उमेरको, जस्तो मानिस पनि हुनसक्छ भन्ने कुरा स्थापित गरेको हो कि जस्तो लाग्छ । थापामा चलचित्रको पात्रका लागि धेरै नै अध्ययन गर्ने बानी छ । उहाँमा जस्तोसुकै चरित्र पनि निर्माण एवं निर्वाह गर्ने क्षमता छ । उहाँ र मैले चलचित्र धन्दामा सँगै काम गरेका छौं । त्यही बेलादेखि हामीले एकअर्कालाई बुझ्ने मौका पाएका हौं । नेपाली चलचित्र उद्योगले उहाँलाई राम्रोसँग प्रयोग गर्न सकेको छैन । उहाँले चलचित्र उद्योगलाई धेरै ठूलो योगदान दिन सक्नुहुन्छ । अर्पण कम बोल्ने, धेरै साथीभाइ बनाउन नखोज्ने स्वभावको हुनुहुन्छ । उहाँका काम हेर्दा अलि बढी कन्फिडेन्स भएको मानिस जस्तो लाग्छ ।
बाबुराम दाहाल, गीतकार तथा चलचित्र निर्माता

 

यश कुमारसँग मेरो पहिलो भेट २०५९ सालमा भएको हो । झापामा हुन लागेको एउटा कार्यक्रमका लागि मैले उहाँलाई धौलागिरि क्यासेट सेन्टरमा भेटेको थिएँ । त्यसपछि त्यो भेटघाटले निरन्तरता पाउन थाल्यो अनि हाम्रो संगत बाक्लियो । हामीले बाटो मुनिको फूलजस्तो सफल चलचित्रसँगै मिलेर बनायौ । मलाई उहाँ सरस्वती पुत्रजस्तो लाग्नुहुन्छ । उहाँमा सरस्वतीको बास छ, किनभने उहाँमा गायन, संगीत, अभिनय तथा लेखन जस्ता धेरै विधाको ज्ञान छ । यी सबै कुरामा उहाँ सफल पनि हुनुहुन्छ । मैले बुझेसम्म उहाँ कम बोल्ने मानिस हो, अलि रिजर्भ टाइपको । त्यस्तै यशकुमारको साथीभाइको सर्कल पनि धेरै ठूलो छैन । उहाँ थोरै र सानो सर्कलमा रमाउन रुचाउने मानिस हुनुहुन्छ ।
राजेश घतानी, चलचित्र निर्माता

 

पूर्ण थापा मान्छे अलि कडा स्वभावको हुनुहुन्छ । आफूले जानेको, बुझेको, देखेको कुरा अगाडि नै भन्ने उहाँको बानी छ । २०५२ सालको गाईजात्राका क्रममा उहाँको र मेरो पहिलो भेटघाट भएको थियो । २०६२ सालदेखि त हामीले कतै न कतै निरन्तर रूपमा सँगै काम गर्दै आएका छौं । उहाँ र म विशेष गरी स्टेज कार्यक्रमका पार्टनर हौं । हाम्रो पर्दामा भन्दा स्टेजमा जोडी जम्छ । त्यसबाहेक हामीले तितो सत्य, भुइँचालो, जय होस्, जिरे खुर्सानी तथा उल्टो–सुल्टो आदिमा सहकार्य गरेका छौं । मलाई उहाँको सबै आनीबानी राम्रै लाग्छ । उहाँको मेहनतबाट म बढी प्रभावित छु । रेडियो नेपालमा कार्यरत हुँदाहुँदै पनि उहाँले अन्ततिर गर्नुभएको मेहनत प्रशंसनीय छ ।
रवि डंगोल, हास्य कलाकार

 

साम्राज्ञी मलाई धेरै फ्रयांक कलाकार लाग्छिन् । उनमा मनमा भएको कुरा प्रष्ट भन्ने बानी छ । अरूको जस्तो मनमा भएको कुरा लुकाएर राख्ने बानी छैन । चलचित्र तिमीसँगमा सँगै काम गरेपछि मैले उनलाई चिन्ने, बुझ्ने मौका पाएको छु । मिल्नेहरूका लागि उनी असाध्यै मिलनसार एवं विश्वासिली छिन् । साथीभाइलाई दुःख पर्दा केयर गर्ने, सहयोग गर्ने बानी छ । त्यस्तै उनी काममा पनि ध्यान दिने मेहनती कलाकार हुन् । उनी आफ्नो काममा इमान्दार छिन् । उनले समयलाई बुझेकी छिन्, मलाई उनको यही विशेषता मनपर्छ ।
नाजिर हुसेन, अभिनेता

Page 14
विकेन्ड कन्सर्ट

ठमेलमा टाइप थ्री

- साप्ताहिक संवाददाता

ठमेलस्थित छायाँ कम्प्लेक्समा गायिका केन्जल मेहर श्रेष्ठ तथा उनको ब्यान्डले कन्सर्ट दिँदैछ । आज शुक्रबार केन्जल तथा उनको ब्यान्ड टाइप थ्रीले सांगीतिक दुनियाँमा आउन लागेको नयाँ ब्यान्ड (माया) को उद्घाटनका अवसरमा यो कन्सर्ट गर्न लागेको हो । उक्त कार्यक्रमलाई डिजे पुनित, याफु तथा अशोकले थप मनोरञ्जक बनाउनेछन् । प्ले ब्वाइ लाउन्ज एन्ड क्लबले प्रायोजन गरेको यो कार्यक्रममा प्रवेश गर्न १ हजार रुपैयाँ तिर्नुपर्नेछ । साँझ ७ बजे प्रारम्भ हुने यो सांगीतिक कार्यक्रम मध्यरातसम्म चल्ने बताइएको छ । 

 

विकेन्ड लाइभ

सिम्फोनीमा रोहित

- साप्ताहिक संवाददाता

रोहितजंग क्षेत्रीको प्रशंसक हुनुहुन्छ भने एउटा खुसीको खबर छ । काठमाडौं, हात्तीसारस्थित सिम्फोनी लाउन्ज एन्ड बारमा आज शुक्रबार रोहितले सांगीतिक प्रस्तुति दिंदैछन्, जसमा गायक डेभिड गुरुङ तथा डिजे बोबीले उनलाई साथ दिनेछन् । यो कार्यक्रममा लाइभ म्युजिकको रमाइलोसँगै ड्रिंग्स तथा फुडको मज्जा पनि लिन सकिनेछ । कार्यक्रम साँझ ७ बजे प्रारम्भ भएर राति १२ बजेसम्म चल्ने बताइएको छ । यो इभेन्टमा प्रवेश गर्न कुनै शुल्क तिर्नु पर्दैन । 

विकेन्ड नाटक

लिजेन्ट नाइट

- साप्ताहिक संवाददाता

लाइभ म्युजिकमा रमाउन चाहनेहरूका लागि लिजेन्ट नाइट रोजाइमा पर्न सक्छ ।
भोलि शनिबार काठमाडौंको दरबारमार्गस्थित किंग्स लाउन्ज एन्ड बारमा लिजेन्ट नाइटको आयोजना हुँदैछ, जसमा गायक जेम्स प्रधान, सन्जय श्रेष्ठ, भीम तुलाधर, बबिन प्रधान तथा विजय गुरुङले सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा प्रवेश गर्न कुनै शुल्क लाग्नेछैन । साँझ ७ बजे प्रारम्भ हुने यो कार्यक्रम राति २ बजेसम्म चल्नेछ ।

विकेन्ड स्पोर्ट्स

राष्ट्रिय जुनियर कराँते

- साप्ताहिक संवाददाता

खेलप्रेमीहरूका लागि आज शुक्रबार र भोलि शनिबारका दिन विशेष बन्न सक्छ । ललितपुरस्थित बंगलामुखी परिसरमा दुईदिने तेस्रो राष्ट्रिय जुनियर कराँते प्रतियोगिता हुँदैछ । प्रतियोगितामा ४ सय ५० जना खेलाडीको सहभागिता छ । उक्त अवसरमा पुरुषतर्फ ८ वटा विधामा तथा महिलातर्फ ७ वटा विधामा प्रतिस्पर्धा हुने बताइएको छ । नेपाल सितोरियो सोबुकान कराँते डो संघ ललितपुरद्वारा आयोजित यो प्रतियोगितामा उत्कृष्ट एक जनाका लागि थाइल्यान्ड भ्रमणको व्यवस्था मिलाइएको छ । कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।

विकेन्ड डान्स

साल्सा डान्स

- साप्ताहिक संवाददाता

साल्सा डान्सले नेपाली युवायुवतीहरूबीच महत्वपूर्ण स्थान पाउँदै गएको छ । केही समययता देशका मुख्य सहरहरूमा साल्सा डान्स गर्ने तथा सिक्ने लहर नै चल्न थालेको छ । पहिले बेलाबेला कुनै खास इभेन्टमा मात्र स्थान पाउने यो नृत्य अहिले विवाहको रिसेप्सन पार्टीदेखि लिएर अन्य रमाइला अवसरहरूमा समेत देखा पर्न थालेको छ । साल्सा डान्स केटा र केटी दुई जना मिलेर नाचिन्छ जसमा केटाले लिड गर्छ भने केटीले फलो गर्छिन् ।नाच्न नजान्ने मानिसहरू साल्सा डान्स सिकेर आफूलाई सामाजिक बनाउन चाहन्छन् । आफ्नो पर्सनालिटी मेन्टेन गर्न पनि साल्सा सिकिने साल्सा डान्स एकेमेडीका प्रशिक्षक विनायक दास श्रेष्ठ बताउँछन् । साल्सा डान्सले समयसँगै अघि बढ्न सहयोग गर्ने, मानिसलाई स्वस्थ राख्नुका साथै अनुशासितसमेत बनाउँछ– श्रेष्ठ भन्छन् । साल्साको अर्न्तराष्ट्रिय कोर्स १ सय ५० घण्टाको हुन्छ । 

Page 15
चलचित्र समीक्षा

घामड शेरे : एउटा संघर्षको कथा

- साप्ताहिक संवाददाता

बृहत् नेपाली शब्दकोश अनुसार ‘घामड’को अर्थ घमण्डी, अभिमानी, असजिलो तथा अबुझ हो । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’ पनि यस्तै चरित्र भएको एक युवाको संघर्षमा केन्द्रित छ । हेमराज बिसीद्वारा निर्देशित यो चलचित्रमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले यस्तै ‘घामड’ चरित्र निर्वाह गरेका छन् । आफ्नो वास्तविक चरित्रसँग कहीँकतै मेल खाने बताउने निश्चलले उक्त चरित्रलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
चलचित्रको कथा शेरबहादुर अर्थात् निश्चल बस्नेत विदेशको बसाईंपछि गाउँ फर्किरहेको दृश्यबाट सुरु हुन्छ । विदेशमा कमाएको पैसा बोकेर गाउँ फर्किएको शेरबहादुर अब फेरि विदेश नगई गाउँमै तरकारी खेती गरेर बस्न चाहन्छ । ऊ स्वदेशमै श्रम गरेर घरमा भएका बाबुआमा, श्रीमती तथा छोरालाई खुसी दिन चाहन्छ । देशको संविधान, कानुन मान्ने शेरबहादुर लप्पनछप्पन गर्न जान्दैन । अरू पनि नठगिउन र आफू पनि नठगिऔं भन्ने मानसिकताको शेरबहादुर हरेक मामिलामा इमान्दारिता देखाउँछ । विदेशमा कमाएको पैसाले स्थानीय नेताको सहयोगमा उसले तीन लाख छुटमा खोला छेउको जग्गा किन्छ, जुन जग्गा केही वर्षअघि त्यही नेताले किनेको हुन्छ । एक रात वर्षासँगै आएको बाढीले खोला छेउको उक्त जग्गा बगाएर बगरमा परिणत गरिदिन्छ । लाखौं खर्च गरेर किनेको जग्गा बगरमा परिणत भएपछि शेरबहादुरको दुःख सुरु हुन्छ । उक्त जग्गा नेताले बाहिरबाट माटो ल्याई भरेको थाहा पाएपछि शेरबहादुर निकै रिसाउँछ । उसले नेताबाट क्षतिपूर्ति पाउँ भन्दै स्थानीय प्रहरी चौकीमा निवेदन दिए पनि नेताले कानुनी प्रक्रियाअनुसार जग्गा किनबेच भएको प्रमाण पेस गरेपछि क्षतिपूर्ति दिनु नपर्ने हुन्छ । यही तनावमा रहेको शेरबहादुरलाई प्रहरीले खोलाविरुद्ध स्थानीय न्यायिक समितिमा मुद्दा हाल्न सल्लाह दिएपछि उसले खोलाविरुद्ध मुद्दा हाल्छ । यो समयावधिमा शेरबहादुरकी श्रीमती पार्वती (सुष्मा निरौला) शेरबहादुरले आफ्नो बैंक खातामा राखिदिएको ८ लाख रुपैयाँ लिएर अर्कै पुरुषसँग भाग्छिन् । एक्लो छोराको हेरचाह अनि मुद्दाको तनावका बेला शेरबहादुरलाई साली गौरी(स्वस्तिमा खड्का)ले साथ दिन्छिन् ।
न्यायिक समितिको बडापत्रमा खोलाविरुद्ध मुद्दा हाल्ने कुरा उल्लेख नभए पनि न्यायिक समितिले बाध्य भएर मुद्दा स्वीकार्छ । मुद्दाको प्रक्रिया चलिरहँदा न्यायिक समितिले नेताले नभई खोलाले नै शेरबहादुरलाई क्षतिपूर्ति दिनुपर्ने निर्णय गर्छ । खोलाले क्षतिपूर्ति दिने निर्णय भएपछि शेरबहादुर अझ अप्ठ्यारोमा पर्छ । यो चलचित्रको अन्त्य–अन्त्यतिर कथामा त्यस्तो ट्वीस्ट आउँछ, जुन ट्वीस्टले गर्दा खोलाले शेरबहादुरलाई आजीवन पुग्ने क्षतिपूर्ति दिइरहन्छ ।
यो चलचित्रको सकारात्मक पक्ष भनेको यसको कथा हो । चलचित्रको छायांकनस्थल सुर्खेतमा कुनै समय खोलाविरुद्ध मुद्दा हालिएको कुरा सुनिए पनि नेपालका अन्य स्थानमा कहीँकतै नसुनिएको यो विषयलाई निर्देशक बिसीले राम्रो तरिकाले कथामा समेटेका छन् । चलचित्रको गति केही सुस्त भए पनि दर्शकले कलाकारको काम तथा हास्य दृश्यबाट मनोरन्जन प्राप्त गर्न सक्छन् । प्रमुख पात्र शेरबहादुर अर्थात् निश्चलले आफ्नो भूमिकाप्रति न्याय गरेका छन् । निश्चलको अभिनय जीवन्त छ । निश्चलकी साली गौरी अर्थात स्वस्तिमाले चलचित्रको कथा अघि बढाउन सहयोग गरेकी छिन् । नेताको चरित्रमा देखिएका लोकेन्द्र लेखकको काम औसत छ ।
चरित्रको प्रस्तुतीकरण तथा कथाअनुसार चलचित्रको गति अलिक बढाउन सकेको भए अझ राम्रो हुन्थ्यो । अर्को कमजोर पक्ष भनेको चलचित्रमा भावनात्मक दृश्य एवं संवादको कमी हुनु हो । चलचित्रमा भावनात्मक संवाद तथा दृश्यले अझ बढी स्थान पाएको भए त्यसले दर्शकलाई बाँध्न सक्थ्यो । चलचित्रका लेखक तथा पटकथाकार बिसी यो कुरामा अलमलिएका छन् ।

चलचित्र

मिस्टर नेपाली

- साप्ताहिक संवाददाता

अभिनेता तथा निर्माता भुवन केसी पछिल्ला वर्षहरूमा चलचित्र निर्माणमै केन्द्रित छन् । एक समय चलचित्रको अभिनयमा व्यस्त यी अभिनेता अन्तिम पटक उनैले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा देखिएका थिए । भुवन उक्त गीतमा बाहेक कुनै पनि चलचित्रमा देखिएका छैनन् । यिनै भुवन लामो समयपछि चलचित्र ‘मिस्टर नेपाली’मार्फत चलचित्रमा देखा पर्दैछन् ।
यो चलचित्रमा भुवन नकारात्मक चरित्रमा छन् । ‘चलचित्रमा मलाई दर्शकले भिलेनका रूपमा पाउनुहुनेछ । यो चलचित्रमा मेरो बाबु र छोरा गरी दोहोरो भूमिका छ,’ अभिनेता केसी भन्छन्, ‘चलचित्रमा म मुख्य नायक होइन । मेरो चरित्र दर्शकलाई नौलो लाग्न सक्छ ।’ यो चलचित्रको कथा विदेशमा बसे पनि नेपालीहरूको मन नेपालमै हुन्छ भन्ने विषयमा आधारित छ ।
यो चलचित्रका निर्देशक देव भुषाल हुन् । देवका अनुसार चलचित्रमा कमेडी, प्रेम तथा देशप्रेमको मिश्रण छ । ‘भुवन केसी अभिनेता र खलअभिनेता दुवै चरित्रमा हुनुहुन्छ । यो चलचित्रमा देखिएको उहाँको फरक लुक्सलाई दर्शकहरूले मन पराउनुहुनेछ भन्नेमा आशावादी छु’, निर्देशक भुषालले भने, ‘चलचित्रले राष्ट्रियताको कुरा उठाएको छ । वर्तमान परिप्रेक्ष्यमा यो चलचित्रले एउटा राम्रो सन्देश दिनेछ ।’
यो चलचित्रबाट साहिल श्रेष्ठ तथा कुसुम राउतले डेब्यु गर्दैछन् । ‘चलचित्र मिस्टर नेपालीको कथा साहिल र म वरपर नै घुम्छ । पहिलो पटक चलचित्रमा अभिनयको अवसर पाएकाले त्यो अवसरलाई मैले राम्रैसँग सदुपयोग गरेकी छु’, नवअभिनेत्री कुसुमले भनिन्, ‘पहिलो चलचित्रमै अग्रज कलाकारसँग अभिनय गर्न पाउँदा डर पनि लाग्दो रहेछ ।’
त्यस्तै नवअभिनेता साहिलले चलचित्रमा आफूले अमेरिकाबाट फर्किएको युवकको भूमिका निर्वाह गरेको बताए । ‘राष्ट्रियताले ओतप्रोत एक युवा किन स्वदेश फर्कन्छ भन्ने चरित्र निर्वाह गरेको छु’, साहिलले भने । प्रेमराज दाहालको लगानीको यो चलचित्रमा भुवन, साहिल र कुसुमबाहेक रिमा विश्वकर्मा, विष्णु सापकोटा, रवी डंगोल आदिले समेत अभिनय गरेका छन् ।

चलचित्र

चौथो ग्लोबल नेपाली चलचित्र एवार्ड

- साप्ताहिक संवाददाता

ग्लोबल नेपाली फिल्म एवार्डको चौथो संस्करण २०१९ को तयारी अन्तिम चरणतिर पुगेको छ । यो वर्ष चौथो ग्लोबल नेपाली फिल्म एवार्ड–२०१९, सान फ्रान्सिस्कोको बे एरियामा नोभेम्बेरको ३० देखि डिसेम्बर १ तारिकसम्म चल्ने बताइएको छ ।
विगत तीन संस्करण कोलोराडोको डेन्भर सहरमा प्रस्तुत उक्त एवार्डले नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रवर्द्धन, पुरस्कार एवं प्रोत्साहनका साथै नेपाली सिनेमाको बजार प्रवर्द्धन, सिनेमा टुरिज्मका विषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन, चलचित्र पर्यटन तथा भिजिट नेपाल–२०२० को प्रमोसन गर्ने उद्देश्य बोकेको छ । ग्लोबल नेपाली फिल्म एवार्डले विगत देखि नै ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ । नेपाली चलचित्र उद्योगलाई विश्व बजार सम्म फैलाउने उद्देश्यका साथ आयोजना गरिँदै आएको यो कार्यक्रमको यो चौथो संस्करण अझ बृहत हुने र यसमा संसारभर बसोबास गर्ने नेपालीहरूको सहभागिता रहने बताइएको छ ।
एवार्डको मुख्य शो नोभेम्बर ३० का दिन बर्क्लीको यू सी थिएटरमा हुनेछ । त्यस्तै कार्यक्रमको भोलिपल्ट बिहानै भिजिट नेपाल–२०२० लाई प्रमोसन गर्ने उद्देश्यले सम्पूर्ण कलाकारहरूको सहभागितामा बर्कली सिटीको मुख्य सडकनै बन्द गरी ‘नेपाल डे परेड’ मनाइनेछ भने सोही दिन साँझ कलाकारहरू सहितको फेयरवेल इभेन्ट क्रुजमा हुनेछ ।
चलचित्र पर्यटनलाई विश्वसामु परिचित गराउँदै अनि नेपाललाई चलचित्र सुटिङ स्पटका रुपमा विकसित गर्दै विश्व बजारमा नेपालको प्राकृतिक सौन्दर्य उजागर गर्नु, अधिकतम रुपमा पर्यटक नेपाल भित्र्याउनु तथा संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मीहरूबीच पुनर्मिलनको अवसर जुटाउनु यो एवार्डको लक्ष्य भएको नायक नवराज श्रेष्ठ बताउँछन् ।

चलचित्र

होमस्टे चिनाउन मनकाशी

- आश गुरुङ

गुरुङ भाषामा ‘काशी’ को अर्थ कान्छी छोरी हो । काशीको अगाडि ‘मन’ जोडे ‘मनकाशी’ हुन्छ । यसअघि पातें (माइली), काशी (कान्छी छोरी) आदि निर्माण गरिसकेका प्रितम गुरुङले यो वर्ष चलचित्र मनकाशीको निर्माण गरेका छन् । ४३ वर्षको उमेरसम्ममा ४५ वटा चलचित्र निर्माण एवं निर्देशन गरिसकेका प्रितमको चलचित्र मनकाशीको सम्पूर्ण छायांकन लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, ढगैं गाउँमा गरिएको हो ।
आफैंले कथा लेखेका प्रितमले ‘मनकाशी’ लाई होमस्टेसँग जोडेको कुरा बताए । ‘मनकाशीको कथा होमस्टेको प्रचार–प्रसार एवं पर्यटन वर्ष सन् २०२० को प्रवर्द्धन गर्ने खालको छ । कलाकारहरूले राम्रो अभियन गरेका छन्,’ उनले भने । रोधी डिजिटल तथा बेस क्रिएसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको भीआईपी शो बेंसीसहरमा भएको थियो । त्यसअघि यो चलचित्र गोरखामा प्रदर्शन गरिएको थियो । बेंसीसहरमा कात्तिक ३० गते मनकाशीको पब्लिक शो हुँदैछ ।
फिल्ममा गुरुङ भाषा तथा नेपाली भाषाको प्रयोग आधाआधा जस्तो गरिएको छ । गुरुङ भाषा बोलिएको ठाउँमा सबटाइटल नेपाली भाषामा छ । करिब २ घण्टाको यो चलचित्रमा मर्स्याङ्दी–३ को हर्सिङडाँडाबाट देखिने हिमालहरू तथा बेंसीसहरका रमणीय दृश्य हेर्न पाइन्छ । मनकाशीमा लमजुङे कलाकार विष्णु गुरुङ एवं पोखराकी अनुता गुरुङको मुख्य अभिनय छ भने यसमा टीकाराम घले, आइतराम गुरुङ, डीबी गुरुङ, बीरमाया घले आदिले पनि काम गरेका छन् । मनकाशीमा मौलिकता समेटिएको छ । यसले मायाप्रेम मात्र नभएर गाउँले रहनसहन, कलासंस्कृति, भाषाका साथै पर्यटन प्रवर्द्धनमा गाउँलेहरूको एकता आदिलाई समेत प्रस्तुत गरे । यो चलचित्रको छायांकन खेम थापामगरले गरेका हुन् । २० लाख रुपैयाँ लगानी गरिएको यो चलचित्रमा तीनवटा गीत छन् जसमध्ये यसको शीर्ष गीत लोकप्रिय भैसकेको छ । यो चलचित्रका संगीतकार गणेश गुरुङ हुन् । गणेशका साथै आइतराम गुरुङ तथा लोकगायक राजु परियारले यो चलचित्रका गीत लेखेका छन् । चलचित्र मनकाशी मंसिर २६ र २८ गते काठमाडौंमा प्रदर्शन गरिने बताइएको छ ।

Page 18
फिल्मी खबर

प्रदीपको गेटअप

- साप्ताहिक संवाददाता

अन्ततः अभिनेता प्रदीप खड्का नयाँ गेटअपसहित चलचित्र प्रेमगीत–३ को छायांकनमा व्यस्त छन् । अघिल्लो साता दक्षिणकाली मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । मुहूर्तको अघिल्लो दिन चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको थियो, जसमा प्रदीपलाई नयाँ रूपमा प्रस्तुत गरिएको छ । यसपटक प्रदीपले आफ्नो हेयरस्टाइल निकै परिवर्तन ल्याएका छन् अर्थात उनको केश निकै लामो छ । मोसन पोस्टरअनुसार चलचित्रमा प्रदीपले एउटा योद्धाको भूमिका निर्वाह गर्दैछन् । त्यसका लागि उनले आफ्नो ज्यान समेत योद्धाको झैं बनाएका छन् । घोडामा सवार उनको अनुहारमा रगतका छिटाहरू देख्न सकिन्छ । सार्वजनिक फस्ट लूकले यो चलचित्रका विषयमा कौतूहलता बढाउने पक्का छ । सन्तोष सेनले निर्माण गर्ने यो चलचित्र चैतको अन्तिम सातातिर प्रदर्शनमा आउनेछ । चलचित्रमा प्रदीपलाई नयाँ अनुहार क्रिस्टिना गुरुङले साथ दिँदैछिन् ।

फिल्मी खबर

गोविन्दामय महोत्सव

- साप्ताहिक संवाददाता

वीरगञ्जमा सम्पन्न चलचित्र महोत्सव बलिउड अभिनेता गोविन्दामय भएको कुरा त्यहाँ पुगेका सञ्चारकर्मीहरूले बताएका छन् । महोत्सवका लागि गोविन्दा काठमाडौंमा अवतरण गरेपछि मात्र कतिपय चलचित्रकर्मीले वीरगञ्जमा महोत्सव हुन लागेको रहेछ भन्ने जानकारी पाए । गोविन्दा वीरगञ्ज पुगेपछि उनलाई स्थानीय दर्शक तथा प्रशंसकसँग साक्षात्कार गराइने अनुमान गरिएको थियो । यद्यपि काठमाडौंबाट वीरगञ्ज पुगेका झन्डै डेढ सय नेपाली कलाकार नै गोविन्दासँग सेल्फी खिचाउन व्यस्त रहे, जसका कारण गोविन्दाले आफ्ना वास्तविक प्रशंसकको अनुहार समेत देख्न पाएनन् । महोत्सव जारी रहँदा त्यहाँ पुगेका अधिकांश नेपाली कलाकारले गोविन्दासँगकै तस्बिर मात्र पोस्ट गरिरहे । रमाइलो त त्यतिबेला देखियो, जब स्टेजमा गोविन्दाले आफ्नै हिन्दी चलचित्रका गीतमा नृत्य गरे तब नेपाली चलचित्रका चर्चित अनुहारले उनलाई कोरसका रुपमा साथ दिए । महोत्सव सम्पन्न भएपछि अहिले त्यसका सकारात्मक तथा नकारात्मक पक्षमाथि टिका–टिप्पणी भैरहेको छ जसमा अधिकांशले उक्त महोत्सव गोविन्दा र नेपाली चलचित्रका कलाकारहरूका लागि मात्र भएको निष्कर्ष निकालेका छन् ।

फिल्मी खबर

चलचित्रमा भीटेन

- साप्ताहिक संवाददाता

हिपहप गायक समिर घिसिङ अर्थात भीटेन अहिले चर्चामा छन् । भीटेन अहिले चलचित्रका गीतमा समेत छाउन थालेका छन् । यसै साता सार्वजनिक भएको चलचित्र सरौतौको एउटा गीतमा भीटेनको स्वर सुन्न सकिन्छ । उनकै शब्द, संगीत तथा स्वरको उक्त गीतमा चलचित्रकी अभिनेत्री सुमी मोक्तान फिचर्ड छिन् । प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको उक्त गीतले छोटो समयमै राम्रो भ्यूज मात्र पाएको छैन, यूट्युबको ट्रेन्डिङमा समेत परेको छ । भीटेनको चर्चाले चलचित्रलाई कत्तिको फाइदा पुर्‍याउने हो, चलचित्रको प्रदर्शनसम्म कुर्नैपर्छ ।

फिल्मी खबर

फिल्मीखबर

- साप्ताहिक संवाददाता

मंसिर ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ, जसमा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा तथा माओत्से गुरुङलाई चित्रण गरिएको छ ।

सुशील श्रेष्ठ तथा रुबिना थापाको चलचित्र ‘लभ डायरिज’ फागुन २ गते प्रदर्शनमा आउने निश्चित भएको छ, जसलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

आइतबार साँझ जय नेपाल हलमा आयोजित चलचित्र ‘घामड शेरे’ को विशेष शोमा सहभागी अभिनेत्री स्वस्तिमा खड्काले यो चलचित्र आशा गरेअनुरूप सफल हुन नसकेको धारणा व्यक्त गरेकी छिन् ।

दसैंअघि प्रदर्शित ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ भने यो अवधिमा चलचित्रले १४ करोड रुपैयाँ संकलन गरेको बताइएको छ ।

निर्माता तथा वितरक गोविन्द शाहीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । चलचित्र लिलिबिलीको निर्माणका क्रममा १ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइन्छ ।

कात्तिक २९ गतेदेखि प्रदर्शनमा आउने आरएल मोक्तानद्वारा निर्देशित चलचित्र सम्हालिराख हैको ट्रेलर सार्वजनिक भएको छ, जसमा अर्जुन कुँवर, शीतल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत आदि कलाकारले अभिनय गरेका छन् ।

चलचित्रका बुलबुलका चोपेन्द्र अर्थात मुकुन भुषाल नयाँ चलचित्र अन्तरेमा अनुबन्ध भएका छन्, जसलाई सत्यराज चौलागाईंले निर्देशन गर्दैछन् ।

Page 19
मनोरञ्जन

धुपौरे छाड्ने कारण

- साप्ताहिक संवाददाता

अभिनेता अनमोल केसी अनुबन्ध गरिसकेको चलचित्र हत्तपत्त छाड्दैनन् । विगतमा उनले एक पटक मात्र चलचित्रबाट हात झिकेका थिए । उक्त चलचित्र थियो— ब्याचलर बन्टि । अहिले आएर अनमोलले त्यस्तै कदम चालेका छन् । यसपटक उनले छाडेको चलचित्र हो— धुपौरे । करिब ५० लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्ध गरिएका अनमोलले उक्त चलचित्रमा अभिनय गर्न ३० लाख रुपैयाँ साइनिङ अमाउन्ट लिएका थिए । यही चलचित्रका लागि वर्कसपदेखि जीमखानासम्म पसिना बगाएका अनमोलले अन्त्यमा आएर उक्त चलचित्रबाट पछि हट्न निर्णय किन गरे त ? अनमोल स्वयंले यस विषयमा कुनै जानकारी गराएका छैनन् । यद्यपि, चलचित्रको युनिटबाट प्राप्त जानकारीअनुसार अनमोलले करिब ७ महिनाको प्रशिक्षणपछि मात्रै छायांकनमा जाने शर्त राखेका थिए, तर निर्माण पक्षले दुई महिनाको प्रशिक्षणपछि नै फ्लोरमा जान दबाब दिन थालेपछि उनले चलचित्रबाट हात झिकेका हुन् । त्यसबाहेक अनमोललाई चलचित्रको स्क्रिप्टमा समेत चित्त बुझिरहेको थिएन । साम्देन भुटियाले निर्देशन गर्ने उक्त चलचित्रबाट अलग भएसँगै अनमोलले केही दिनमै साइनिङ अमाउन्ट फिर्ता गर्ने बताइएको छ । चलचित्रबाट अनमोल बाहिरिएसंगै उक्त चलचित्रको निर्माण कार्य अघि बढ्छ कि बढ्दैन भन्ने अन्यौल समेत बढेको छ ।

मनोरञ्जन

शिवरात्रीको भिडन्त

- साप्ताहिक संवाददाता

चाडपर्वमा नेपाली चलचित्रबीच भिडन्त हुनु नौलो कुरा होइन । दसैं र तिहारपछि शिवरात्रीमा पुनः एक पटक चलचित्रहरू एक–अर्कासँग भिड्न लागेका छन् । यसपटक शिवरात्री फागुन ९ गते परेको छ । संयोग कस्तो छ भने शुक्रवारकै दिन शिवरात्री पर्छ । शुक्रवार नयाँ चलचित्र प्रदर्शन हुने दिन । चलचित्र प्रदर्शन हुने पहिलो दिन नै सार्वजनिक विदा परेपछि यतिबेला चार वटा नेपाली चलचित्र उक्त मितिमा प्रदर्शनका लागि तयार छन् । दीपेन्द्र के खनालको ‘आमा’, धुर्मस–सुन्तलीको ‘सेन्टि भाइरस’, मुकुन्द भट्टको ‘लप्पन छप्पन–२’ तथा विराज भट्टको ‘साङ्लो’ फागुन ९ गते प्रदर्शन हुन लागेका हुन् । एकसाथ यतिका चलचित्र प्रदर्शनमा आउने भएपछि दर्शकलाई त रमाइलो लाग्ने नै भयो, निर्माताहरूलाई चाहिं कत्तिको सकस पर्ने हो, सहजै अनुमान गर्न सकिन्छ । 

मनोरञ्जन

अपोजिट सेक्स

- साप्ताहिक संवाददाता

 

अभिनेता : सौगात मल्ल
निर्देशक : विकास आचार्य
गायक : सुसन केसी
संगीतकार ; अर्जुन पोखरेल
मोडल : दिक्पाल कार्की
मेकअप आर्टिष्ट : सन्तु तामाङ
फेसन डिजाइनर : प्रबल गुरुङ
नेता : गगन थापा
कवि : पारस मुकारुङ
साहित्यकार : सुबिन भट्टराई

मेरो मूल्यांकन

साहिलको साइलेन्स नेचर

- साप्ताहिक संवाददाता

यही शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र मिस्टर नेपालीमार्फत कुसुम राउत र साहिल श्रेष्ठ नेपाली रजतपटमा नवअभिनेता–अभिनेत्रीका रूपमा डेब्यू गर्दैछन् । अभिनेत्री कुसुमबाट साहिलको मूल्यांकन :

 

जिज्ञासु
उसलाई मैले निकै जिज्ञासु पाएँ । आफूले नजानेको र नबुझेको कुरा सोधिरहन्थ्यो ।

मेहनती
साहिल काममा मेहनती छ । ऊ हरेक काम गर्न इच्छा देखाउँछ । काममा डेडिकेसन छ ।

साइलेन्स नेचर
साइलेन्स नेचरको छ । हूल तथा हल्लामा भन्दा एक्लै बस्न मन पराउँछ ।

मिलनसार
साहिल मिलनसार लाग्यो । साइलेन्स नेचरको भए पनि जो–कसैसँग घुलमिल हुनसक्छ ।

समयपालक
ऊ हरेक दिन सुटिङमा समयमै आइपुग्थ्यो । उसका कारण सुटिङमा ढिलाइ भएन ।

Page 20
बलिउड

रिक्रियट श्रीदेवी

- साप्ताहिक संवाददाता

दिवंगत अभिनेत्री श्रीदेवीको अभिनय क्षमता एवं नृत्यकलाका पारखी प्रशस्तै छन् । उनले चलचित्रमा गरेका नृत्यमध्ये सन् १९८९ को हिन्दी चलचित्र चालवाजको एक नृत्य गीत तेरा बिमार मेरा दिललाई अझै पनि मानिसहरू सम्झी रहन्छन् । त्यतिबेला श्रीदेवी र सनी देवल फिचर्ड गरिएको उक्त गीतलाई निर्देशक अनिश बाजमीले आफ्नो अपकमिङ चलचित्र पागलपन्थीमा रिक्रियट गरेका छन् । उक्त चलचित्रको रिक्रियसनमा अभिनेता जोन अब्राहम तथा उर्वशी रौतेला फिचर्ड हुने भएका छन् । यो चलचित्र दिवंगत श्रीदेवीप्रति श्रद्धाञ्जली हुने उर्वशीले बताएकी छिन् । चलचित्र पागलपन्थी २२ नोभेम्बरमा सार्वजनिक हुँदैछ ।

बलिउड

सम्बन्ध अस्वीकार

- साप्ताहिक संवाददाता

बाहुबलीमार्फत चर्चामा आएका राणा दग्गुबतीसँग रिलेसनमा रहेको चर्चाले हैरान भएकी अभिनेत्री रकुल प्रितसिंहले हालसालै आफू कसैसँग पनि रिलेसनमा नरहेको दाबी गरेकी छिन् । रकुलले भनेकी छिन्– राणा दग्गुबती उनका छिमेकी तथा असल साथी मात्र हुन् । हो, म केही समयअघि कसैसँग रिलेसनमा थिएँ । गैरफिल्मी ती व्यक्तिसँगको मेरो सम्बन्धको अन्त्यपछि म अहिले सिंगल छु । राणा दग्गुबतीजस्ता सज्जन मानिससँग मेरो नाम जोडिनु मेरा लागि भन्दा पनि उनका लागि पीडादायी हुन सक्छ । यो कुरा सबैले ख्याल गर्नुपर्छ । स्मरणीय छ, अर्को साता मरजाँवा चलचित्रमा देखा पर्न लागेकी रकुल निकट भविष्यमा अर्जुन कपुरसँग निर्देशक काश्वी नायरको चलचित्रमा प्रस्तुत हुँदैछिन् । क्रस बोर्डर प्रेम सम्बन्धमा आधारित अहिलेसम्म नाम नजुराइएको उक्त चलचित्रको निर्माण जोन अब्राहमले गर्दै छन् ।

बलिउड

बच्चनको ५० वर्ष

- साप्ताहिक संवाददाता

बलिउड चलचित्र उद्योगमा महानायकका रूपमा स्थापित मेगा स्टार अमिताभ बच्चनले अभिनय गरेको पहिलो चलचित्र प्रदर्शनमा आएको ५० वर्ष पुगेको छ । सन् १९६९ नोभेम्बर ७ तारिखमा बच्चन अभिनित सात हिन्दुस्तानी सार्वजनिक भएको थियो । उक्त चलचित्रमा छोटो भूमिका भए पनि सातमध्ये एक हिन्दुस्तानी भएकाले यसलाई बच्चनको पहिलो चलचित्र मानिन्छ । ख्वाजा अहमद अब्बास निर्देशित उक्त चलचित्रमा बच्चनले अनवर अलि अनवरको चरित्र निर्वाह गरेका थिए । बच्चनका साथ उक्त चलचित्रमा उत्पल दत्त, मधु अनवर अलि, जलाल आजा, एके हंगल, दिना पाठक, अन्जली कदम आदि कलाकारले पनि काम गरेका थिए । अघिल्लो महिनामात्र दादा साहब फाल्के पुरस्कारबाट सम्मानित बच्चन अभिनित सात हिन्दुस्तानी बक्स अफिसमा खासै नचले पनि उक्त चलचित्रले नै बच्चनलाई अवसर दिएकाले यसको महत्त्व भारतीय चलचित्र उद्योगमा सदैव रहने बताइन्छ ।

बलिउड

तीन खान एक साथ ?

- साप्ताहिक संवाददाता

बलिउडका तीन खान अर्थात आमिर खान, सलमान खान तथा साहरूख खानलाई एउटै चलचित्रमा हेर्ने चाहना राख्ने दर्शकको संख्या ठूलै छ । दर्शकहरूको यो रुचिलाई निकट भविष्यमा कुनै निर्माताले पूरा गर्छन् कि भन्ने सोचमा रहेका चलचित्र पण्डितहरूको आशा पूरा हुने छाँटकाँट पनि देखिँदैछ । प्राप्त समाचारअनुसार आमिर खानले निर्माण गर्न लागेको अपकमिङ चलचित्र लाल सिंह चड्डामा तीनै खान एकसाथ देखिने सम्भावना छ । हलिउड चलचित्र फरेस्ट गमको हिन्दी रिमेक मानिएको यो चलचित्रमा आमिर खान तथा करिना कपुर मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । सूत्रका अनुसार आमिर खानले प्रस्ताव गरेको दुई फरक–फरक भूमिकाका लागि साहरूखले स्वीकृति प्रदान गरिसकेका छन् भने सलमानको स्वीकृतिको प्रतीक्षा भैरहेको छ । सलमान पनि आफूलाई प्रस्ताव गरिएको भूमिकाप्रति सकारात्मक रहेको आमिरका निकटस्थहरू बताउँछन् ।

बलिउड

समाचार

- साप्ताहिक संवाददाता

आफ्नो घनिष्ठ मित्रको वैवाहिक समारोहमा खुलेर रमाइलो गरेकी अभिनेत्री दीपिका पादुकोण त्यसपछि बिरामी परेकी छिन् । उनलाई हाइ फिभर भएको समाचारमा
जनाइएको छ ।

कार्तिक आर्यन, भूमि पेडनेकर तथा अनन्या पाण्डेद्वारा अभिनीत बलिउडको नयाँ चलचित्र ‘पति पत्नी और वो’ को पहिलो गीत ‘धीमे–धीमे’ सार्वजनिक भएको छ, जसमा नेहा तथा टोनी कक्कडको स्वर सुन्न सकिन्छ ।

सन् १९९१ मा ‘फूल और काँटे’ मार्फत बलिउड प्रवेश गरेका अभिनेता अजय देवगण यतिबेला आफ्नो एक सयौं चलचित्रको तयारी गरिरहेका छन् । यो विशेष अवसर पारेर अभिनेता शाहरूख खानले उनका लागि एउटा सुन्दर सन्देश लेखेका छन् । देवगणले आफ्नो एक सयौं चलचित्रका रूपमा ‘तानाजी : द अनसंग वारियर’ निर्माण गरेका छन्, जसको पोस्टर हालै सार्वजनिक भएको छ ।

बुवा बोनी कपूरको ६४ औं जन्मदिनको अवसर पारेर उनकी अभिनेत्री छोरी जान्हवी कपुरले केही सुन्दर तस्बिरसँगै इन्स्टाग्राममा एउटा आकर्षक तस्बिर गरेकी छिन् । ती तस्बिरमध्ये एउटामा बोनी कपुरलाई श्रीदेवीसँगै देखिन्छ । बोनीले गएको सोमबार जन्मदिन मनाएका हुन् ।

भोजपुरी चलचित्रका सुपरस्टार खेसारी लाल यादवको बहुप्रतीक्षित भोजपुरी गीत ‘दिल तो पागल है’ को आधिकारिक भिडियो युट्युबबाट सार्वजनिक भएको छ ।

भारतीय नेतृ तथा नायिका जयललिताको जीवनमा आधारित चलचित्र ‘थलाइवी’ को छायांकन प्रारम्भ भएको छ, जसमा कंगना रणावतले जय ललिताको भूमिका निर्वाह गर्दैछिन् ।

Page 21
हलिउड

छोरीको कुमारीत्व

- साप्ताहिक संवाददाता

टीआई उपनामले चर्चित अमेरिकी र्‍यापर तथा अभिनेता क्लिफर्ड जोसेफ ह्यारिस जुनियर यतिबेला विवादमा तानिएका छन् । विवादको कारण उनकी छोरीको कुमारीत्व हो । समाचारअनुसार टीआईले आफ्नी १८ वर्ष पुगिसकेकी छोरी डेजाह ह्यारिसलाई सदैव कुमारीत्वकै अवस्थामा राख्न हरेक वर्षजसो कुमारीत्व परीक्षण गराउँदै आएका छन् । टीआईका अनुसार उनी आफ्नी छोरीको कुमारीत्वका विषयमा निकै संवेदनशील छन् । उनको मान्यता छ, विवाहअघि उनकी छोरीले कुमारीत्व गुमाउनु हुँदैन । उनकी छोरी कलेज जान थालेपछि यौनसँग सम्बन्धित विषयमा चर्चा गर्न थालेकी थिइन् । छोरीको यस्तो गतिविधिबाट झस्किएका टीआईले अहिले महिनैपिच्छे छोरीको कुमारीत्व परीक्षण गराउन थालेका छन् । यता चिकित्सकहरूले उनको यस्तो व्यवहारबाट दिक्क हुँदै उनलाई भने– कुनै पनि युवतीको भर्जिनिटी यौन सम्बन्धकै कारण मात्र नष्ट हुँदैन, त्यसका पछाडि अन्य थुप्रै कारण हुन्छन् । यद्यपि टीआई भने आफ्नो अडानबाट पछि हटेका छैनन् ।

हलिउड

एन्जेलिनाको दुःख

- साप्ताहिक संवाददाता

कुनै बेला ब्राड पिटसँग हलिउडकै सबैभन्दा लोभलाग्दो जोडी बनाएकी एन्जेलिना जोलीले हालै एक फ्रेन्च म्यागजिन म्याडमलाई दिएको अन्तर्वार्तामा ब्राडसँगको आफ्नो सम्बन्ध कसरी टुंगियो र त्यसले के–कस्तो प्रभाव पार्‍यो भन्ने विषयमा खुलासा गरेकी छिन् । जोलीका अनुसार जतिबेला ब्राड पिटले उनीसँग अलग हुने घोषणा गरे त्यतिबेला उनले आफैंले आफैंलाई गुमाएको अनुभव गरेकी थिइन् । जोलीका अनुसार गहिरो दुःखको त्यो क्षणमा उनले सोचिन्– मेरो भाग्यमा के छ ? भन्ने कुरा मलाई थाहा छैन, म यतिबेला जीवनको निर्णायक मोडमा छु । उक्त अन्तर्वार्तामा उनले ब्राडसँग अलग हुने निर्णयलाई जीवनकै कठिन क्षण बताएकी छिन् भने त्यो कुरा सम्झँदा अहिले पनि दुःख लाग्ने कुरा उल्लेख गरेकी छिन् । स्मरणीय छ, ब्राड र एन्जेलिना लगभग १ दशकसम्म लिभ इन रिलेसनमा रहेर विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूका आफ्नै २ तथा धर्म पुत्र–पुत्रीका रूपमा ग्रहण गरिएका ४ गरी ६ सन्तान छन् ।

लत

टुथ ब्रसको लत

- साप्ताहिक संवाददाता

मानिसलाई अनेक किसिमका लत लाग्छन् । कोही धूमपानको लतमा हुन्छन् भने कोही रक्सीको लतमा । कसैलाई लागूपदार्थको लत हुन्छ भने कसैलाई के–को लत हुन्छ । यस्तो लतको सूची लामै हुनसक्छ । यसबीच ब्रिटिस गायक लियाम ग्यालाघरलाई भने दाँत माझ्ने टुथ ब्रसको लत लागेको खुलासा भएको छ । समाचारअनुसार लियामले जहाँ जसको, जस्तो अवस्थाको टुथ ब्रस पनि उठाइहाल्छन् र फुर्सद पाउनेबित्तिकै दाँत माझिहाल्छन् । त्यस क्रममा उनी हरेक दिन १५–२० पटकसम्म दाँत माझ्छन् । लियामका अनुसार उनले आफ्ना प्रशंसकहरूसँग प्रत्येक दिन अनेकौं पटक तस्बिर खिचाउनुपर्ने हुन्छ । तस्बिर खिचाउँदा हँसिलो हुनुपर्ने र दाँत चम्किनुपर्ने भएकाले उनले टुथ ब्रसलाई त्यसरी आफ्नो लत बनाएको कुरा बताएका छन् ।

बक्स अफिस

बक्स अफिसब

- साप्ताहिक संवाददाता

आयुष्मान खुरानाको पछिल्लो चलचित्र ‘बाला’ ले उत्कृष्ट व्पापार गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्रले पहिलो तीन दिनमा ७० करोड रुपैयाँ संकलन गरेको थियो ।

सुरज पञ्चोली, मेघा आकाश, उपेन्द्र लिमाय आदि कलाकारले अभिनय गरेको चलचित्र ‘सेटेलाइट शंकर’ बक्स अफिसमा असफल भएको छ । अघिल्लो शुक्रबार प्रदर्शित उक्त चलचित्रले पहिलो तीन दिनमा ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

अघिल्लो साता प्रदर्शित हलिउड चलचित्र ‘टर्मिनेटरः डार्क फेट’ ले ४८ मिलियन डलर आम्दानी गरेको छ । यो चलचित्रमा लिन्डा हेमिल्टन, आर्नोल्ड स्वेज्नेगर, नटालिया रेज, म्याकेन्जि डेभिस आदि कलाकारले अभिनय गरेका छन् ।

वार्नर ब्रोजको पछिल्लो चलचित्र ‘डक्टर स्लिप’ ले बक्स अफिसमा ३४ मिलियन डलर आम्दानी गरेको छ । माइक फ्लानागनद्वारा निर्देशित यो चलचित्रमा इवान म्याकग्रेगर, रेबेका फर्गुसन, किली कुरान, क्लिफ कर्टिस आदि कलाकारले अभिनय गरेका छन् ।

Page 22
मनोरञ्जन

स्नेहालता र संगीतालाई एवार्ड

- साप्ताहिक संवाददाता

विवाहिता महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेज इन्टरनेसनलको १३ औं संस्करणका नेपाली सहभागी स्नेहालता राउत थापा तथा संगीता न्यौपानेले विधागत एवार्डहरू जितेका छन् । मिसेज विधामा प्रतिस्पर्धा गरेकी स्नेहालताले प्रतियोगितामा मिसेज इन्टरनेसनल टुरिज्म एम्बेसडर तथा सुपरमोडलको एवार्ड जितेकी छिन् भने एमएस विधामा सहभागिता जनाएकी संगीताले मिसेज इन्टरनेसनल एलिगेन्स ब्युटी एवार्ड हात पारेकी छिन् । प्रतियोगितामा सहभागी भएकी स्नेहालता रिबन इन्टरटेनमेन्टले संचालन गरेको मिसेज नेपाल इन्टरनेसनल–२०१९ की सेकेन्ड रनर्सअप हुन् भने संगीता दक्ष इन्टरनेसनलले संचालन गरेको मिसेज ब्युटिफुल नेपाल–२०१९ की विजेता हुन् । सिंगापुर, मलेसिया तथा इन्डोनिसियाका विभिन्न स्थानमा प्रतियोगिताका विभिन्न गतिविधि संचालन हुँदै टिकेएस मिसेज इन्टरनेसनल–२०१९ को अन्तिम प्रतिस्पर्धा गत कार्तिक २२ गते सिंगापुरस्थित अर्किड कन्ट्री क्लबमा सम्पन्न भएको थियो । 

मनोरञ्जन

निर्णायकको भूमिकामा उषा

- साप्ताहिक संवाददाता

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा नेपाली युवा–युवती, बालबालिका तथा विवाहिताहरूको उल्लेख्य उपस्थिति रहँदै आएको छ । केही प्रतियोगितामा नेपाली सेलिब्रेटी तथा प्रतियोगिताका लागि नेपालका नेसनल निर्देशकहरू पनि निर्णायकको भूमिकामा देखिँदै आएका छन् । यही प्रसंगमा गएको नोभेम्बर ९ तारिखमा मलेसियाको कोता किनाबालुमा सञ्चालित मिस्टर कन्टिनेन्टल इन्टरनेसनल–२०१९ मा पूर्व मिस नेपाल उषा खड्गीले निर्णायकको भूमिका निर्वाह गरेकी छिन् । युवाहरूमा लक्षित यो अन्तर्राष्ट्रिय प्रतियोगितामा पूर्व मिस नेपाल उषा डिजाइनर रबिन परियारले तयार पारेको रातो रंगको सुन्दर गाउनमा उपस्थित थिइन् । प्रतियोगितामा नेपालका तर्फबाट मिस्टर ग्रेस एसईई चितवन तथा म्यान अफ नेपाल–२०१९ का विजेता विमल सुवेदीले प्रतिस्पर्धा गरेका थिए ।

मनोरञ्जन

मिस तामाङ पोखरा

- साप्ताहिक संवाददाता

पाँचौं संस्करणको मिस तामाङ पोखराको तयारी अघि बढेको छ । बैदाम तामाङ समाज पोखराले २८५६ औं सोनाम ल्होसारका अवसरमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । मौलिक भाषा, संस्कार तथा संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न कार्यक्रमलाई निरन्तरता दिन लागिएको समाजका अध्यक्ष ज्याक तामाङले बताए । प्रतियोगिताका लागि देशभरकै तामाङ समुदायका युवतीहरूलाई सहभागिताका लागि आह्वान गरिएको प्रतियोगिता संयोजक तथा मिस तामाङ–२०१८ कविता योञ्जनले जानकारी दिइन् । प्रतियोगीहरूलाई ४५ दिन लामो व्यक्तित्व विकास, भाषा तथा संस्कारसम्बन्धी तालिम प्रदान गरिने कुरा योञ्जनले बताइन् ।

मनोरञ्जन

धनकुटामा हुर्रा महोत्सव

- नरेन्द्र बस्नेत

धनकुटाको चौविसे गाउँपालिका–६ मा दोस्रो हुर्रा महोत्सव सम्पन्न भएको छ । मगर जातिले औंसीको दिनदेखि हुर्रा खेल्ने चलन रहिआएको छ । युवायुवतीहरू एकअर्काको हात समाएर हुर्रा नाचमा सहभागी हुन्छन् । मगर समुदायमा हुर्रा नाच विशेष मानिन्छ । महोत्सवमा कुरुले–३ सोगुम, मुढेबास डाडागाउँ, वसन्तटार ठाडा गाउँ, मुढेबास लाफा चौक, मुक्तारा दीपज्योति, कोपिला युवा क्लव मुक्तारा, बरगाछी, पाङ्मीचौक, वाराङ्गी फुल्लो फेदाङ्जुङ, सुरुङ्गी हुर्रा टिम, माथिल्लो टोड्के, फेदाङ्सुङ सौर आदि हुर्रा टिमले हुर्रा नृत्य प्रदर्शन गरेका थिए ।

मनोरञ्जन

निशालाई भ्याली आइकन

- साप्ताहिक संवाददाता

गएको शनिबार त्रिपुरेश्वरस्थित ब्लुस्टार इभेन्ट्स भेन्युमा सञ्चालित मिस भ्याली आइकन–२०१९ मा निशा लिम्बूले बेस्ट कल्चरल ड्रेसको एवार्डसहित उपाधि जितेकी छिन् । प्रतियोगितामा फोटोजेनिक एवार्डसहित प्रतिमा बलामी फस्ट रनर्सअप तथा पङ्चुयल एवार्डसहित अनुपा गिरी सेकेन्ड रनर्सअप घोषित भएका भएका थिए ।
यसैगरी चार्मिङ विधाको एवार्डसहित बिन्दु शाही ठकुरी मिस पपुलर तथा रेश्मा तामाङ मिस मिस ट्यालेन्टसहित भ्युअर च्वाइस एवार्ड जित्न सफल भए । पूर्व मिस पूर्वाञ्चल प्रियंका श्रेष्ठले कोरियोग्राफी गरेको यो प्रतियोगिता क्वेस्ट इभेन्ट म्यानेजमेन्टको ब्यानरमा सञ्चालन भएको थियो ।

मनोरञ्जन

डियर टु डान्स

- साप्ताहिक संवाददाता

काठमाडौंकी चोनाली तामाङ डियर टु डान्स सिजन टुकी विजेता भएकी छिन् । राजधानीमा सम्पन्न इभेन्टमा तामाङले १७ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उक्त एवार्ड जितेकी हुन् । त्यस्तै प्रतियोगितामा मनोज तामाङ फस्ट रनर्सअप तथा सोइसा लुइँटेल सेकेन्ड रनर्सअप भएका छन् ।

मनोरञ्जन

अमेरिकाको सौन्दर्य प्रतियोगितामा सुजिता

- शिव शर्मा

पहिलो मिस नेपाल अमेरिकाकी विजेता सुजिता बस्नेतले गत साता यहाँ सम्पन्न मिस मेरिल्यान्ड युएसएमा सेकेन्ड रनर्सअपको उपाधि जितेकी छिन् । उनले पब्लिक च्वाइसको टाइटल पनि प्राप्त गरिन् ।
सुजिता सन् २०१६ मा अमेरिकामा सम्पन्न मिस वर्ल्ड अमेरिकामा सहभागी भएर सेमिफाइनलमा पुगेकी थिइन् । सुजिता पहिलो पटक सन् २०११ मा नेपाली युवतीहरूमाझ भएको मिस नेपाल युएसएकी विजेता हुन् । वासिङ्टन डिसीमा जन्मिएकी सुजिताले १९५२ देखि हुँदै आएको यो प्रतियोगितामा ९३ जना अमेरिकी युवतीलाई पछि पारेकी थिइन् ।

Page 23
पहिलो विश्व

सिर्जनाको प्लेटफर्म

- साप्ताहिक संवाददाता

मस्कोकी एक मोडलले इन्स्टाग्रामलाई आफ्नो सिर्जनाको प्लेटफर्म बनाएर निकै चर्चा पाइरहेकी छिन् । २४ वर्षीया कात्याले विभिन्न बिरुवा, तरकारी तथा फलहरू प्रयोग गरेर नयाँ किसिमको मेकअप शैलीको विकास गरेकी छिन् जसलाई उनले आफ्नो इन्स्टग्राममार्फत सार्वजनिक गर्दै आएकी छिन् । अहिले धेरैले कात्याको यो कामको प्रशंसा गर्दै आएका छन् ।

पहिलो विश्व

भाग्यले साथ दिएपछि

- साप्ताहिक संवाददाता

भाग्यले साथ दियो भने डोकोमा दुध दुहे पनि अडिन्छ भनिन्छ । हो, यस्तै किसिमको स्थिति एक व्यक्तिमाथि आइलागेको छ । इकर्म साइट इबेमा एक व्यक्तिले लिलाममा राखिएको सेरामिकको एउटा करुवा १ पाउन्ड अर्थात् १ सय ४६ रुपैयाँमा खरिद गरे । निकै कलात्मक देखिने उक्त करुवा पुरानो जस्तो लागेर परीक्षण गराउँदा त्यो चीनको क्वानलोङ साम्राज्यकाल अर्थात् सन् १७३५ देखि १७९६ कोबीचमा निर्माण भएको कुरा पत्ता लाग्यो । पहेलो रंगको उक्त करुवामा कुँदिएका अक्षर तथा आकृतिहरू निकै कलात्मक छन् भने करुवा पनि एकातर्फसम्म सीधा र अर्कातर्फ अर्धगोलाकार छ । उक्त प्राचीन करुवा ती व्यक्तिले लिलाममा राख्दा चीनकै एक व्यापारीले ७ करोड ७ लाख ८० हजार रुपैयाँमा सकारे । लिलाम गृहले उक्त करुवा खरिद तथा बिक्री गर्ने दुवैको नाम गोप्य राखेको छ । 

पहिलो विश्व

युट्युबलाई जागिर त्याग

- साप्ताहिक संवाददाता

सामाजिक संजालमा भिडियो स्ट्रिमिङ साइटका रूपमा युट्युबको अलग्गै किसिमको क्रेज छ । आफूलाई सेलिब्रेटी बनाउन र राम्रै आम्दानी गर्न सकिने यो प्लेटफर्ममा आउन अहिले जो कोही चाहिरहेका छन् ।
लन्डनस्थित एक कार्यालयमा प्रशासनिक क्षेत्रमा कार्यरत कार्ना रोवलीलाई युट्युबको क्रेजले यति तानेको छ कि उनले आफूले गरिरहेको राम्रो जागिर नै त्यागेर युट्युबमा करिअर थालिन् । खानाकी सौखिन कार्नाले युट्युबमा एकै स्थानमा बसेर धेरै भन्दा धेरै क्यालोरी भएको खाना खाने कार्यक्रम चलाउने निधो गरेकी छिन् । उनले म्याकडोनाल, ग्रिग्स, पिज्जा हट, चाइनिज टेकवे आदिका बढी क्यालोरी हुने खानेकुरा खाएर भिडियो तयार गर्छिन् । उनी एक बसाइमा न्यूनतम पनि ५५ हजार क्यालोरी खान्छिन् ।
यसरी एकै स्थानमा बसेर धेरै क्यालोरी भएको खाना खादै भिडियो बनाउने चलन दक्षिण कोरियाबाट प्रारम्भ भएको हो । स्थानीय भाषामा यसलाई माकब्याङ भनिन्छ । यसरी भिडियो बनाउँदा दर्शकका अगाडि सेलिब्रेटी त भइएला तर त्यसले स्वास्थ्यमा पुर्‍याउने समस्याका बारेमा भने यी प्रस्तोताहरू अनभिज्ञ नै छन् ।

पहिलो विश्व

तनाव कम गर्ने चिहान

- साप्ताहिक संवाददाता

पढाइ भन्ने कुरा सजिलो छैन । अझ परीक्षाको अगाडि केही आएन भने त्यो विद्यार्थीको मानसिक अवस्था नै नाजुक बन्न पुग्छ । परीक्षामा उत्तर आएन र जाँच बिग्रियो भने करिअर चौपट हुने डरमा धेरै विद्यार्थी पर्न थालेपछि नेदरल्यान्डको एक युनिभर्सिटीले नयाँ उपाय अगाडि ल्याएको छ । आफ्नो युनिभर्सिटीका विद्यार्थीहरू परीक्षासँग डराउन थालेको कुरा थाहा पाएपछि विश्वविद्यालयले एउटा चिहानको निर्माण गरेको छ । उक्त चिहानमा मरेको मान्छे जसरी केही बेर सुतेपछि उनीहरूमा परीक्षाको डर कम भएको पाइयो । नेदरल्यान्डको र्‍याडबोड युनिभर्सिटीले ल्याएको चिहान ध्यानको यो उपाय धेरै विद्यार्थीले रुचाउन थालेका छन् । केही समय चिहान बनाउन तयार पारिएको खाल्डोमा उत्तानो सुतेर ध्यान गरेपछि उनीहरूमा परीक्षाको तनाव कम भएको पाइएको थियो, जसका कारण अहिले विद्यार्थीले चिहानमा गएर सुत्न अग्रिम रूपमा समय लिनुपर्ने भएको छ ।

Page 24
आवरण

कुन चिडिया हुन् सोनिका ?

साप्ताहिकसँग खोलिन् पारस शाहसँगको सम्बन्धको रहस्य
- साप्ताहिक संवाददाता

द्विअर्थी शब्द तथा हाउभाउमार्फत युट्युबमा सेन्सेसन क्रिएट गर्नु । यौनका बारेमा बोल्ड रूपमा प्रस्तुत हुनु । कन्ट्रोभर्सी क्रिएट गर्नु । छोटा तथा ग्ल्यामरस पहिरनमा रमाउनु । अन्तर्वार्ताहरूमा अश्लील छेडखानी गर्नु— युट्युबर सोनिका रोकाया छवि नै बनेको थियो । यस्तै–यस्तै कारणले युट्युबमा उनका भिडियोले लाखौं भ्युज बटुल्थे । उनी युट्युब संसारकी सेन्सेसन थिइन् । पछिल्ला केही दिनयता उनी पूर्वयुवराज पारस शाहसँग बढेको हिमचिमका कारण चर्चामा छिन् ।
२५ वर्षमा हिँडिरहेको बताउने सोनिकाले युट्युबमा बेच्ने शाब्दिक नग्नताका कारण गाली मात्र खाइनन् । आकर्षक जीउडालका बीच जब उनकै शब्दमा यौन मादकता भरिएको हुन्थ्यो, मानिसहरू उनका समक्ष थरीथरीका अप्रोच गर्थे भने कोही गाली गर्थे, कोही जुत्ताले हान्छु भनेर तर्साउँथे । यद्यपि उनी फरक संसारकी सोनिका थिइन्, न ती गालीहरूले उनको जीवनमा अर्थ राख्थे, न अप्रोचहरूले नै । उनी ती सबै कुरालाई हावामा उडाउन सक्थिन् । संवेदनाको मूल्य उनको जीवनमा मृतप्रायः थियो । ‘त्यतिबेला म साँच्चै वाइल्ड एनिमल थिए,’ झण्डै चार/पाँच महिनाअघिसम्मको आफ्नो जीवशैलीका बारेमा सोनिका भन्छिन्, ‘केवल आफ्नै लागि मात्र बाँचिरहेकी ।’
ती वाइल्ड एनिमल सोनिका को थिइन् त ? न उनका बारेमा धेरै कुरा बाहिर आए, बरु युट्युबकी विवादित पात्रका रूपमा उनको छवि अझ नकारात्मक भयो । न त भर्चुअल संसारमा सोनिकाको उदण्डताको कारण नै खोजियो ? आखिर कुन चिडिया हुन् त सोनिका ? कसरी उनी त्यस्तो काम गर्न तयार भइन् ?
सोनिकाको खास नाम पूजा रोकाया हो । उनी पूजाबाट सोनिका बन्नुका पछाडि पनि अनेकन कारण छन् । बझाङ, छान्नास्थित माझीगाउँको मध्यम किसान परिवारमा जन्मिएकी हुन् उनी । उनका हजुरबुवादेखि बुवासम्म समाजसेवामा छन् । उनका बुवा बर्खबहादुर रोकाया बझाङको खप्तड छान्ना गाउँपालिकाका कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् । द्वन्द्वकालमा उनका बुवाको खुट्टा भाँचिएको थियो, उनको सम्पत्ति पनि सेबोटेज गरिएको थियो । सोनिका तिनै बर्खबहादुरका पाँच सन्तानमध्येकी चौथी सन्तान (काइँली) हुन् । उनको जन्म धनगढीमा भए पनि उनी कक्षा ५ सम्म बझाङमै पढ्केी हुन् ।
सोनिकाले काठमाडौंस्थित प्रतिष्ठित बूढानीलकण्ठ स्कुलमा ५ देखि १० कक्षासम्म छात्रवृत्तिमा पढेकी हुन । बूढानीलकण्ठका उत्पादनहरू कोही इन्जिनियर, कोही डाक्टर बन्छन्, तर सोनिकाले कसरी बाटो बिराइन् ? त्यसको पनि आफ्नै कथा छ । राजादेखि सामान्य नागरिकसम्मका छोराछोरी पढ्ने बूढानीलकण्ठको वातावरणले विकास गर्ने कन्फिडेन्ट सोनिकामा पनि झल्किन्छ ।

बूढानीलकण्ठको उतार चढाव
सोनिकाले बूढानीलकण्ठबाटै एसएलसी गरेकी हुन् । ‘म हावामा हिँडेकी केटी हुँ,’ उनी भन्छिन्, ‘१० कक्षासम्म बुवाले एकदमै दुःख गरेर पढाइदिनुभएको हो ।’ शिक्षाले आफ्नो जीवनमा तात्विक परिवर्तन नल्याएको दाबी गर्ने सोनिका बूढानीलकण्ठमा पढ्दा पढाइमा एभरेज भए पनि स्पोर्टस, नृत्यजस्ता अतिरिक्त क्रियाकलापमा अब्बल थिइन् । उनलाई पढाएका शिक्षक कृष्ण कोइराला भन्छन्, ‘सोनिका मेरै स्टुडेन्ट हुन्, उनी नृत्य, स्पोर्टसलगायतका गतिविधिमा त डाइनामाइट नै थिइन् ।’ सोनिका कक्षा ८ सम्म आफू पढाइमा पनि एभरेज स्टुडेन्ट भएको बताउँछिन् । ‘५ कक्षापछि एक्जाममा यति ल्याउँछु भनेर टार्गेट गरेर पढे,’ रोकाया भन्छिन्, ‘८ कक्षासम्म राम्रो पर्फमेन्स थियो ।’
जब कक्षा ८ मा पुगिन् । त्यसपछि कुरा फरक धारमा अघि बढ्न थाल्यो । स्कुलका हरेक हाउसका क्याप्टेन छुटाइन्थ्यो । सोनिका हिउँचुली हाउसमा थिइन् । डान्स, स्पोर्टस, स्वीमिङ आदिमा अब्बल, पढाइमा एभरेज । त्यसकारण हाउस क्याप्टेनमा सोनिकाको पनि दाबी थियो, तर उनी क्याप्टेन बन्न पाइनन् । ‘त्यो सामान्यजस्तो लाग्ने घटनापछि मलाई अलि ह्युमिलेसन फिल भयो,’ उनले भनिन्, ‘सबै कुरामा पूजा चाहिने तर पोष्ट दिने बेला अरुलाई नै ।’ त्यही बेलादेखि आफूले अनुशासन तोड्न थालेको अनि पढाइमा ध्यान दिन छाडेको उनी बताउँछिन् ।
बूढानीलकण्ठमा पढेकी छोरीलाई उनका बुवाआमा डाक्टर बनाउन चाहन्थे, तर उनलाई त्यसमा फिटिक्कै रुचि थिएन् । उनी बाल्यकालदेखि नै भिजे बन्न चाहन्थिन् । परिवारले साइन्समा भर्ना गरिदिए पनि उनी त्यो विषय छाडेर सगरमाथा कलेजमा पत्रकारिता तथा आमसञ्चार पढ्न थालिन् । सोनिकाले साइन्स छाडेर पत्रकारिता पढ्न थालेको उनका बुवाले थाहा पाए । त्यसले बुवासँगको सम्बन्धमा दरार त ल्यायो नै, पैसा आउने बाटो पनि बन्द भयो । त्यसपछि उनले सिटी सेन्टरस्थित नातेदार दिदीको कपडा पसलमा काम गरेर कक्षा १२ को पढाइ पूरा गरिन् र जीवन गुजारा खर्च जुटाउन थालिन् ।

पूजाबाट सोनिका
मिडियाप्रतिको नशाले नै कक्षा १२ को मध्यतिर नै उनी फेसबुक लाइभमा भिडियो बनाउन थालिसकेकी थिइन् । फेसबुक लाइभमा उनको भिडियो देखेपछि केटीएम नेपाल फेसबुक पेजले उनलाई करेन्ट इस्युमा फेसबुक लाइभमा बसेर चियोचर्चा गर्ने काम दियो । पूजाले बुवाले थाहा नपाउन् भनेर आफ्नो नाम परिवर्तन गरेर सोनिका बनाइन् । केटीएम नेपालबाट फेसबुक लाइभ गर्न थालेपछि उनले ‘प्रेमगीत–२’ को टिमसँग प्रमोसनको काम दिन प्रस्ताव राखिन् । पहिलो पटक नै सन्तोष सेनले भने, ‘तिमी राम्रो बोल्दी रै’छौ, मुभी चलुन्जेल रेडियोमा प्रोग्राम गर्देऊ, हामी तिमीलाई पे गर्छौ ।’ त्यसपछि सोनिकाले एक महिना आरजेका रूपमा काम गरिन्, प्रेमगीतको प्रमोशसन टुरमा पनि हिँडिन् । बिस्तारै फिल्मी क्षेत्रका मानिसहरूसँग लिंक बनाउन थालिन् ।
त्यस क्रममा उनलाई इन्ड्रस्टीका बारेमा जानकारी हुन थाल्यो । ‘त्योबीचको समयमा पिपुल ट्राइ टु युज मी,’ उनले भनिन्, ‘यतिधेरै युज गर्न आए । किनभने, नयाँ फ्रेस जो आउँछ नि ! उसलाई त माल भनेर हेर्दिन्छन् यो इन्डस्ट्रीका मानिसहरू । त्यस्ता केही घिनलाग्दा मानिसको टार्गेट नै नयाँ पिस हुँदा रहेछन् ।’
जब सोनिका बजारमा देखिन थालिन् । उनको आकर्षक शारीरिक बनावट तथा रूपरंगबाट मानिसहरू प्रभावित हुन थाले । विभिन्न अप्रोच र प्रलोभन आउन थाल्यो । हिरोइन बनाउनेसम्मका । त्यस्तै एउटा घटना छ— जसले सोनिकालाई डाङडुङे र बोल्ड बनाएको हो । सिंगापुरबाट फिल्म पढेर आएको बताउने एकजनाले उनलाई लन्चका लागि डिल्लीबजार बोलाए । सोनिका ट्याक्सी चढेर डिल्लीबजार पुगिन् । ‘उसले मलाई भेटौं न त भनेर बोलाएपछि म खुसी हुँदै त्यहाँ पुगें । मजस्तो फिल्म इन्ड्रस्ट्रीका बारेमा केही नबुझेका लागि एउटा अवसर हुन सक्छ भन्ठाने,’ उनी भन्छिन् । ती पुरुषले उनलाई हिँडाउँदै भित्री गल्लीमा भएको एउटा घरमा पुर्‍याए । घरमा पुगेपछि कोठाको ढोका बन्द गरे । सोनिकाले आफू रेखा थापाको ‘विग फ्यान’ भएको कुरा बताइन् । ती पुरुषले उनलाई फिल्म बनाउन लागेकाले हिरोइन सोनिकालाई नै बनाउने आश्वासनको जाल फिजाए । ‘म हिम्मत गरेर त्यहाँ पुगेकी हुँ । बन्द कोठाभित्र उसले मलाई नाच्न लगायो, म नाचे । अभिनय गर्न लगायो, मैले अभिनय गरे,’ सोनिका झक्कानिँदै भन्न थालिन्, ‘हि ट्राइ टु टच मी । ही टच माई ब्रेस्ट ।’ लामो श्वास फेर्दै उनले भनिन् ‘ओ माई गड ।’ उनी त्यो असजिलो परिस्थितीसँग लडिन्, त्यहाँबाट जबरजस्ती ढोका खोलेर बाहिरिइन् ।
यही घटनापछि उनी बोल्ड सोनिका बनिन् । कच्चीबाटोमा कच्चा तरिकाले हिँड्नुपर्छ भन्ने आफूलाई त्यही घटनाले सिकाएको उनी बताउँछिन् । ‘म त एउटा आशा बोकेर आएकी थिएँ ?’ उनले आँसु पुछ्दै थपिन्, ‘लकले फेभर गरे पनि त्यो नै मेरा लागि जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट थियो । मलाई डेटहरू याद हुन छाडेको पनि त्यही घटनापछि हो । मलाई डाङडुङ गर्दै हिड्ने पनि त्यही घटनाले बनाएको हो ।’
केटीएम नेपालको अन्तिमतिर र वाउ नेपाल ज्वाइन नगरिसकेको अवस्था घटेको उक्त घटनाले उनलाई अझ बोल्ड र डाङडुगे बनायो । ‘वाउ नेपालले अझ बोल्ड क्यारेक्टर निकालिदियो, जो पनि आउँथे, नेगेटिभ कुरा गर्थे । जब म डाङडुङे रूपमा प्रेजेन्ट हुन्थें, अझ नेगेटिभ कुरा गर्थे, तर म उनीहरूलाई हाँसोमै उडाउन सक्थें,’ उनी वाउरुपी सोनिकाको परिचय दिन्छिन् । सोनिकालाई थाहा छ— कतिको युटिलाइज हुने वा मिसयुटिलाइज हुने आफूमै निर्भर हुन्छ । उनी वाउ नेपालमा कहाँसम्म पुगिन्, कतिसम्म गिरेर प्रस्तुत भइन् भन्ने कुरा सबैले खुल्ला रुपमै देखेका छन् । सोनिकाको प्रस्तुति यतिसम्म छाडा थियो कि उनको युट्युब ब्यान्ड गर्नुपर्ने हल्ला मात्र चलेन, उनलाई नै बहिष्कार गर्नेसम्मका बहसहरू भए । ‘तर, अहिले उनीहरूले नै मेरा गसिपहरू बनाउन थालेका छन्, किनभने म हार खाएर भागिन्,’ उनले भनिन्, ‘हिम्मतिला र संघर्ष गर्नेहरूको कहानी छुट्टै हुन्छ ।’ अहिले सोनिका आफैले रियलाइज गरेकी छिन्— मैले एकदमै घिनलाग्दो काम गरेछु । ‘म सत्य भन्छु, मलाई परिस्थितिले त्यस्तो बनाएको हो, म जानेर बनेकी होइन् ।’
युट्युबमा सेन्सेसन क्रिएट गर्ने सोनिकाले वाउ नेपालबाट १५ हजार स्यालरी पाउँथिन् । ‘वाउ नेपालमा निकै इफोर्ट दिए, २ वर्षसम्म १० हजारमा काम गरें,’ उनले भनिन्, ‘त्यसपछि पनि स्यालरी बढेर १५ हजारसम्म मात्र भयो ।’ आफ्नो मेहनतमा राम्रो आम्दानी भैरहेको थाहा पाएपछि सोनिकाले ५० हजार तलब मागिन् । उनको आग्रह नमानिएपछि उनी काम छाडेर सिंगापुर हान्निइन् । सिंगापुरमा बिरामी भएपछि उनी पुनः काठमाडौं फर्किइन् । अहिले सोनिकालाई लागेको छ— मैले आफ्ना लागि काम गरिन् । वाउ नेपालमै हुँदा सोनिकाले आफ्नो छुट्टै युट्युब च्यानल पनि खोलेकी थिइन्— द सोनिका शो । नेपाल फर्किएर उनी त्यही युट्युब च्यानलमार्फत काममा सक्रिय भइन् । ‘सिंगापुरबाट फर्किएपछि बुवासँग सहयोग मागेर क्यामेरा तथा कम्प्युटरहरू किने,’ उनले भनिन्, ‘अफिस स्थापना गरे । मेरो भाग्य बलियो छ, अहिले राम्रै चलिरहेको छ ।’

प्रेमीसँग ब्रेकअप
सोनिका विदेशमा बस्ने एक जना व्यवसायीसँग प्रेममा थिइन् । ‘उनी एकदमैं वेल एजुकेटेड थिए, मैले घरपरिवारसँग पनि परिचय गराइसकेकी थिए, इन्गेजमेन्ट फाइनल भैसकेको थियो,’ उनले भनिन्, ‘तर, करिअर छोड भनेपछि मैले उनलाई छाड्नुपर्‍यो ।’ सोनिका आफूले तिनै प्रेमीलाई जीवन सोचेको बताउँछिन् । तर, एक दिन तिनै प्रेमीसँग बेड सेयर गरेकी एक महिलाले भिडियो कल गर्दै भनिन्, ‘लुक एट योर हजवेन्ड । हि इज सिलिपिङ विथ मी ।’ त्यसले उनको जीवनमा अर्को ठूलो झड्का दियो । त्यो ब्रेकअपले आफूलाई पहिलो पटक डिप्रेसन पुर्‍याएको सोनिका बताउँछिन् ।

नाइट लाइफको मस्ती
प्रेममा हुँदा सोनिका ब्वाइफ्रेन्डसँगको नाइट लाइफमा खुबै रमाइन्, तर ब्रेकअपपछि उनले नाइट लाइफ लगभग छाडेकी थिइन् । सिंगापुरबाट फर्केर सोनिका शोमा काम गर्ने क्रममा लिक्युइड लाउन्जमा स्टेज शो गर्ने अफर आयो । लिक्युइड पसेपछि त्यहाँको माहौलले नै उनलाई तान्यो । ‘खाली टाइममा, फुर्सदको समयमा बस्ने राम्रो रेष्टुरेन्ट खोल्न पाए हुन्थ्यो भन्ने पहिलेदेखि नै थियो,’ उनी भन्छिन्, ‘लिक्युइड मन पर्‍यो, मैले सेयर हाले ।’ लिक्युइडमा सेयर नै हालेपछि उनमा पुनः नाइटलाइफको रस बस्न थाल्यो ।
व्यवस्थापन उत्कृष्ट भए पनि लिक्युइड सुनसान थियो । सोनिकाले त्यसलाई चलाउन अनेकन फन्डा अपनाइन् । ६० हजारभन्दा बढी फ्लोअर्स भएको आफ्नो फेसबुकबाट प्रमोसन गरिन्, ऋषि धमलादेखि नायिका सुष्मा कार्कीसम्मलाई बोलाएर ग्राहक आकर्षित गर्ने काम गरिन् । विस्तारै लिक्युइडमा पनि सोनिकाको जादू चल्न थाल्यो, लाउन्जको व्यापार ब्लास्ट भयो । ‘दुईवटा टेबल पनि नभरिने ठाउँलाई मैले ब्लास्ट गरिदिए । विहान अनलाइन अफिस । दिउँसो जिम, मानिसलाई एट्याक्ट गर्नुपर्‍यो नि ? सोनिकाले त एट्याक्ट गर्ने हो नि,’ उनी जोली देखिइन्, ‘त्यसपछि रातिको ३ बजेसम्म लिक्युइड ।’ सोनिका नाइट क्विनमै बदलिइन् ।

जोगिन समलिंगीको फन्डा
सोनिकाले एक पटक आफू समलिंगी भएको घोषणा गरेकी थिइन् । उनले कुराकानीका क्रममा त्यो प्रसंग आफै कोट्याइन् । ‘मैले किन आफूलाई समलिंगी भने होला ? के मलाई मेरो विवाहको चिन्ता छैन ? के ममा घरबार बसाउने रहर नहोला ?’ उनी आफैं प्रश्नको उत्तर दिन थालिन्, ‘म समलिंगी हुँ भनेर अहिलेको हाइवेष्ट प्वाइन्टमा भनेकी हुँ । जब तिमी राम्री हुँदै जान्छौं, चिटिक्क हुँदै जान्छौं, आक्रमण गर्नेहरू बढ्दै जान्छन् । मैले के सोचे भने म त्यसलाई सेफ ल्याण्डिङ गर्छु, त्यही भएर मैले आफूलाई समलिंगी भने ।’

कपिल शर्मासँगको भेट
कपिल शर्मासँगको भेटका सम्बन्धमा सोध्दा उनले आफूलाई लक्की भनिन् । ‘म एकदमै लक्की छु, मेरो भाग्य बलियो छ । मैले उहाँलाई इन्टाग्राममा म्यासेज गरे, ‘आइ एम अ भिजे । आइ वीस्ड टु भिजिट मुम्बई, जस्ट टु टेक योर इन्टरभ्यू ।’
‘हाइ सोनिका,’ त्यसको रिप्लाई लेख्दै कपिलले यतिमात्र फर्काए ।
दुई/तीन दिनपछि फेरि सोनिकाले अर्को म्यासेज गरिन्, ‘ह्वाट टु डु ? इज इट पोसिबल ।’
कपिलले रिप्लाइ दिए, ‘अल राइट । अबको केही दिनपछि कपिल शर्मा शोकोसुटिङ हुँदैछ । तिमी सेटमै आऊ ।’ त्यसपछि सोनिका क्यामेरा म्यान लिएर मुम्बई पुगिन् । कपिल शर्मा सेटको पछाडि कपिलको अफिसमा उनको अन्तर्वार्ता लिइन् । बलिउडका स्टार कमेडियनको अन्तर्वार्ता गर्दा पनि कसैले प्रशंशा गरेनन् । बरु, एक जना पत्रकारले आफूलाई शरीर सुम्पिएर अन्तर्वार्ता लिएको भनेर फोन गरेको तीतो उनले पोखिन् ।

हिमानीसँग कुराकानी गर्छन् पारस
पूर्वयुवराज पारस शाहका बारेमा सोनिकाको बुझाइ फरक छ । पारस पत्रपत्रिकाले चित्रण गरेजस्तो व्यक्ति नभएको उनको दाबी छ । ‘उहाँको एउटा लजिक— अंग्रेजीले ‘ए’बाट एप्पलदेखि ‘जेड’बाट जेब्रासम्म सिकाउँछ भने नेपालीले ‘क’बाट कलमदेखि ‘ज्ञ’बाट ज्ञानी हुन सिकाउँछ । हामी त्यतिबेलादेखि नै कति लजिकल छौं । उहाँ आफैं सेल्फ स्टडी गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘जो युवा उहाँको संगतमा पुग्छ, त्यसको बेस्ट मान्छे बन्छ ।’ सोनिका पारसलाई पोलिटिक्सले घिनलाग्दो मान्छे बनाएको दाबी गर्छिन् । पूर्व राजा ज्ञानेन्द्र तथा हिमानीसँग पनि पारसको सम्बन्ध सुमधुर रहेको दाबी उनले गरिन् । ‘फ्यामिलीसँगको सम्बन्ध त राम्रै देख्छु । सबै देखेको वा सुनेको कुरा मात्र सत्य हुँदैन । हिमानीसँग कुरा गरेकै, छोराछोरीसँग कुरा भएकै देखेकी छु,’ उनले भनिन्, ‘ड्याडी सोनिकासँग यस्तो समाचार आयो के हो भन्दै छोराछोरीले सोध्दा पारसले मजस्तै बाटो हराएकी केटीको हो भनेर जवाफ दिएको म्यासेज मलाई नै देखाउनुभएको हो ।’ आफूले कहिलेकाहीं सोध्दा पारसले बुवासँग मिटिङमा भएको बताउने गरेको पनि बताइन् । ‘बाहिर पनि भेटघाट र बैठकहरू भैरहेको हुन्छ । फेमिली ग्रुपमा गरेको म्यासेज पनि देखाउनुभएको छ,’ उनले थपिन् ।

 

पूर्वयुवराज पारसको इन्ट्री 

सोनिका पछिल्लो समय पूर्वयुवराज पारस शाहसँग देखिन्छिन्, काठमाडौंदेखि पोखरासम्म, नाइट क्बलदेखि हेलिकप्टरसम्म । बेला–बेलामा उनीहरूका तस्बिर तथा भिडियो पनि भाइरल हुन्छन् । आखिर कसरी पारससम्म पुगिन् सोनिका ? त्यसको पनि अलग्गै किस्सा छ । पूर्व राजपरिवार कहिले त्रिसारा त कहिले किङ लाउन्जमा झुल्किरहन्छ । लिक्युइड लाउन्जको सञ्चालक भएपछि सोनिकालाई रोयल फेमिलीलाई आफ्नो लाउन्जमा भित्र्याउने हुटहुटी चल्न थाल्यो । किङ्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र परिवारसहित देखिएपछि सोनिका थामिनै सकिनन् । उनले फटाफट फेसबुकमा पूर्वयुवराज पारस शाह सर्च गरिन् । पारसका दर्जनौ एकाउन्टमध्ये एउटामा म्यासेज लेखिन्, ‘म विजनेश पर्सनालिटी/भिजे हुँ, मेरो दरबारमार्गमा आफ्नै लाउन्ज छ । आइ वुल्ड लाइक टु वेलकम यु आवर लाउन्ज । इफ पोसिबल प्लिज कम ।’
पारसको फेसबुकबाट रिप्लाई आयो, ‘ओके ।’ तर, पारसका नाममा फेसबुकमा दर्जनौं एकाउन्ट छन् । सोनिकाको आशा त जाग्यो तर भर पर्न सकिनन् । ‘त्यसभन्दा अघि मैले पारस सरकार को हो भनेर चिनेकी पनि थिइन् । यो भाग्यको खेल हो ?’ उनी भाग्यप्रति अनुगृहित देखिइन्, तर पनि सोनिकालाई पूर्ण विश्वास भने अझै भएन ।
तैपनि उनी पहिलो पटक पारसलाई देखाउनैका लागि सिल्क साडीमा सजिइन् । ‘सरकारका अगाडि पर्न कस्तो साडी लगाउनुपर्छ भनेर निकै खोजेर बाइ हार्ट मैले सिल्क साडी लगाए,’ उनले भनिन्, ‘छोटा पहिरनमा रमाउने सोनिका फेरि पूजामा रुपान्तरण हुनुको कारण यही हो ।’ पारस उनको लाउन्ज पुग्नुपूर्व अननोन नम्बरबाट कल आयो, ‘हामी हिड्यौं ।’ मेकअप र साडीमा सजिएकी सोनिका फूल लिएर स्वागत गर्न उभिइन् । स्वागत गरिसकेपछि बल्ल सोनिकालाई अन्धकारमा हानेको तिर सही ठाउँमा लागेको विश्वास भयो ।
पारस पनि बूढानीलकण्ठ पढेका, सोनिकाको पाँच वर्ष पनि त्यही बितेको । दुवैका धेरै कुरा मिल्न थाले । कुन हाउसमा बसेको, क्याप्टेन भयौ–भएनौ, यस्तै–यस्तै । ‘हि लभ्स माइ कम्पनी,’ सोनिका भन्छिन्, ‘म एकदम जोली क्यारेक्टर, सबैसँग मिल्न सक्छु ।’ त्यो दिन पारस जुस र खाना खाएर फर्किएको उनले बताइन् ।
‘आई विस्ड टु मिट हिम अगेन,’ सोनिकाले भनिन्, ‘म त अलि हरामी क्यारेक्टर ।’ सोनिकाले फेरि पारसलाई भनिन्, ‘आइ वान्ट टु मिट यु अगेन ।’ ‘ओके लेट्स मिट अन्नपूर्ण,’ पारसले उत्तर फर्काए । यति धेरै मानिसको भीडमा पारसले आफ्नो अनुरोध स्वीकार गर्नुलाई नै ठूलो भाग्य मान्छिन्, उनी । अन्नपूर्णमा भेटेको कुरा त बजारमा गसिप बन्न थालिहाल्यो । त्यो गसिपपछि केही समयसम्म दुवै नबोलेको उनी बताउँछिन् ।
त्यसपछि अर्को भेटका लागि पारसले नै आग्रह गरे, ‘लेट्स मिट अगेन ।’ यिनै बाक्लिँदा भेटघाटहरूले उनीहरूबीच मेलमिलाप पनि बढायो । लिक्युइडमा सोनिका वाइल्ड रुपमा प्रस्तुत हुन्थिन् । झ्याप्प केटाहरू समात्ने, मस्तसँग डान्स गर्ने । सोनिकाको होहल्ला गर्ने बानी र वाइल्ड छवि पारसलाई मन परेनछ । एकदिन नाचिरहेका बेला लिक्युइडमै पारसले सोनिकालाई एक झापड हिर्काए । ‘धेरै केटाहरूको अगाडि म वाइल्ड भएर नाचिरहेकी थिए,’ सोनिका भन्छिन्, ‘छोरी मान्छेलाई सायद त्यो क्यारेक्टर राम्रो देखिएन्, धेरै केटाले मलाई छोइरहेको उहाँलाई मन परेन, एक झापड हिर्काउनुभयो ।’ पारसको क्रोध सोनिकामाथि वर्षिएपछि संगीत र होहल्लाको रौनकमा डुबेको लाउन्ज शान्त भयो । पारस भने फटाफट निस्किएर आफ्नो बाटो लागे ।
उक्त घटनापछि पनि सोनिका र पारसको संवाद एवं भेटघाट टुटेन । ‘उहाँ रिसाउने तर म उहाँसँगै जाने, उहाँले पिट्ने मचाहिँ उहाँसँगै जाने । किन, किन गैरहेकी छु ?’ उनले आफैंलाई प्रश्न गरिन्, ‘म उहाँको पैसाका लागि गएकी होइन, मेरो आफ्नै कुस्त पैसा आउने आर्थिक स्रोत छन् ।’ सोनिका पारसले धेरै पटक आफूलाई देश, राजनीति, नारी हुनुको अस्तित्व, युवाहरूको कर्तव्यलगायतका विषयमा बुझाउने प्रयास गरेको कुरा बताउँछिन् । ‘तर, म बुझ्दै नबुझ्ने । अर्को एक पटक पारस त्यसैगरी कड्किए,’ उनी थप्छिन् । त्यसपछि भने उनमा केही परिवर्तन देखा पर्न थाल्यो ।
पारसले सम्झाएपछि सोनिका वर्षौंपछि मनैदेखि दसैं मनाउन घर गइन् । जब घर पुगिन्, उनलाई पैसाभन्दा ठूलो कर्म रहेछ भन्ने महसुस हुन थाल्यो । घरको सुन्दर भ्यू, डाँडापाखा, खेतवारी, बारीमा फलफूल, महघारी, माछा पोखरी, कुखुरा फार्म, आमाले लगाएको तरकारीको टनेल सबै पुगेको देखिन्, त्यो पनि पैसा बिना नै । यसले सोनिकाको मंथिगलमा थप हलचल ल्यायो । ‘त्यसो भए हामी पैसाकै पछाडि किन दौडिरहेका छौं भनेर झट्का लाग्यो,’ उनी भन्छिन् । त्यसपछि आफूले छोटा पहिरनको ठाउँमा सभ्य पहिरन लगाउन थालेको सोनिका बताउँछिन् । पारससँगकै संगतका कारण उनले आफूले देशको कला, संस्कृति, धर्म, इतिहास आदिका बारेमा विस्तृत ज्ञान पाएको बताइन् । सोनिकालाई मान्ने हो भने पारस डिस्को, क्लब र बारमा रुमल्लिरहेको युवापुस्तालाई सुधार्नकै लागि पुग्छन् ।
सोनिकाले पारससँग नियमित भेटघाट गर्नुको कारण के हो त ? उनी भन्छिन्, ‘उहाँले मलाई हरेक भेटमा देशका कुरा भन्नुहुन्थ्यो, म बुझ्दिनथें, म वाइल्ड एनिमल नि त ! अब उहाँले डोमेस्टिक बनाउन खोज्नुभएको कुरा कसरी बुझूँ ?’ सोनिका पारसले नै आफूलाई नारी हुनुको अस्तित्व, देश, राजनीति, संस्कृति आदिका बारेमा बुझाएकाले उनको संगतमा लागेको दाबी गर्छिन् । उनी पारसकै कारण आफू घिनलाग्दो संसारबाट नयाँ संसार र सकारात्मकतातर्फ अघि बढेको दाबीसमेत गर्छिन् । उनी आफ्नो र पारसबीचको सम्बन्धलाई नाम दिने जिम्मा भगवान्लाई नै छाडिदिन आग्रह गर्छिन् । ‘किनभने, उहाँ मेरो गुरुका रुपमा पनि आउनुभएको छ, एकदमै मिल्ने साथीका रूपमा पनि आउनुभएको छ, अभिभावकजस्तो पनि हुनुहुन्छ । म यसको सबै क्रेडिट भगवान्लाई दिन चाहन्छु । मैले पारस सरकारबाट दीक्षा पाएँ,’ उनले भनिन् । उनले अब आफू सकारात्मकर्मतर्फ लाग्ने अठोट व्यक्त गरिन् । ‘अब सोनिका हरेक दिन साडी र शरीर ढाकिने कपडामा देखिनेछ,’ देश, राजनीति अनि धर्म–संस्कृतिमाथि पनि लामो प्रवचन दिएपछि उनले भनिन् ।

Page 26
अटो

अनमोलको रोजाइमा जिप कम्पास

- साप्ताहिक संवाददाता

अभिनेता अनमोल केसीले जिप कम्पास किनेका छन् । जिप कम्पास नेपाली बजारमा मात्र नभएर अन्य देशमा समेत निकै रुचाइएको गाडी हो । जिप कम्पास आफूलाई निकै मन परेको र त्यसैले यसलाई रोजेको अनमोलले बताएका छन् ।
‘खासमा जिप ब्रान्डकै कारण मैले जिप कम्पासलाई आफ्नो यात्राको साथी रोजेको हुँ । यो एसयुभी नेपाली सडक अनुकूल छ । म जिप कम्पासको कठोरता, क्षमता एवं ‘म्यान्ली अपियरेन्स’बाट निकै प्रभावित छु,’ गाडीको डेलिभरी लिँदै अनमोल केसीले भने, ‘सुटिङका लागि म धेरैजसो काठमाडौं उपत्यका बाहिर यात्रा गरिरहेको हुन्छु । अब मेरा सबै गन्तव्यमा जिप मेरो साथमा हुनेछ । म जहाँ गए पनि जिप कम्पासमै जानेछु ।’
‘ए मेरो हजुर–३’को सुटिङदेखि नै अनमोल जिपकम्पास प्रति मोहित थिए । उक्त चलचित्रमा कम्पासको सिन पनि समावेश थियो । ‘आफ्नै जिप कम्पास चढ्ने मेरो इच्छा पूरा भएको छ,’ केसीले भने ।
जिप कम्पास पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ । यसको डिजेल भर्सन २.० लिटल मल्टिजेट टर्बोचार्ज्ड इन्जिनमा उपलब्ध हुन्छ जसले अधिकतम १७० बीएचपी पावर तथा ३५० एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको छ ।
त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट छ जसले १६० बीएचपी बराबरको अधिकतम पावर तथा २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । पेट्रोलमा ६ स्पिड म्यानुअल तथा ७ स्पिड ट्विन क्लच अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।
जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड तथा ट्रेलहक ट्रिममा उपलब्ध छ । डिजेल अटोमेटिक इन्जिन जडान गरिएको ट्रेलहक भेरियन्ट गएको नाडा अटो शोमा सार्वजनिक गरिएको थियो । यसमा २.० लिटरको टर्बोचार्ज्ड डिजेल इन्जिन छ जसले १७० बीएचपीपावर तथा ३५० एनएम टर्क उत्पन्न गर्न सक्छ । नेपालमा जिप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँदेखि १ करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।

अटो

मनाइयो बबएमसी राइड डे

- साप्ताहिक संवाददाता

बबएमसी अर्थात ब्रदरहुड अफ बुलेटियर्स मोटरसाइक्लिङ कन्सोर्टियमको सातौं वार्षिकोत्सवको अवसरमा गत शनिबार राइड कार्यक्रम सम्पन्न भयो । भारतका बुलेट बाइक राइडरहरूको समूह बबएमसीको सातौं वार्षिकोत्सवको अवसरमा नेपालको समूह फोरे अर्थात फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपालको आयोजनामा उक्त राइड कार्यक्रम आयोजित गरिएको थियो ।
२३ वटा बाइकमा ३२ जनाको समूह कमलादीबाट प्रस्थान गरेर त्रिपुरेश्वर, चोभार हुँदै भैंसेपाटी पुगेर उक्त राइड समापन भएको थियो । नेपालमा आगामी माघ १० देखि १३ सम्म पोखरामा बबएमसी राइडर मेनिया हुने भएको छ । उक्त कार्यक्रमको प्रवर्द्धनका लागि समेत यो राइड कार्यक्रमको आयोजना गरिएको फोरे नेपालले जनाएको छ ।
फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर डायमन्ड तथा टिम लिडर प्रमोद श्रेष्ठ गुफीको नेतृत्वमा सञ्चालित उक्त राइडले भिजिट नेपाल–२०२० लाई समेत प्रवर्द्धन गर्ने बताइएको छ । राइडर मेनिया यसको १९ औं संस्करण हो । बबएमसी राइडर मेनिया प्रत्येक वर्ष आयोजित हुन्छ । विभिन्न राइडर क्लबहरूले आयोजना गर्ने राइडर मेनिया नेपालमा पहिलो पटक हुन लागेको हो ।
उक्त अवसरमा नेपाल, भारत तथा भुटानका साथै विश्वका विभिन्न देशका करिब ३ हजारभन्दा बढी बाइक राइडरको सहभागिता रहनेछ । विशेषगरी रोयल इन्फिल्ड बाइक राइडर सहभागी हुने उक्त राइडर भेलामा क्लासिक, भिन्टेज तथा एडीभी बाइक राइडर समेत सहभागी हुनेछन् ।

अटो

अनौठो डिजाइनको किया फ्युचरन

- साप्ताहिक संवाददाता

चीनको सांघाईमा सम्पन्न इन्टरनेसनल इम्पोर्ट एक्सपोमा किया मोटर्सले कन्सेप्ट एसयुभी फ्युचरन प्रदर्शनमा राखेको थियो । उक्त कारको छत पुरै ग्लासले बनेको छ । यो कार फ्लेक्जिबल हुनुका साथै यसमा हाइटेक इन्टेरियर समावेश गरिएको छ । कम्पनीले फ्युचरनको डिजाइनले भविष्यमा आउन सक्ने इलेक्ट्रिक कारको झलक दिने दाबी गरेको छ । उक्त डिजाइन कुनै उडनतस्तरीको जस्तै लाग्छ ।
फ्युचरनको लम्बाई ४८५० एमएम, उचाई १५५० एमएम तथा ह्विलबेस ३००० एमएम छ । यसको फ्लोरमा उच्च क्षमताको ब्याट्री जडान गरिएको छ । उक्त ब्याट्रीले कारको चारै ह्विलमा भएको मोटरसम्म इलेक्ट्रिक इनर्जी पुर्‍याउने काम गर्छ । कार र ड्राइभरसँग सम्पर्क गर्न उक्त एसयुभीको स्ट्रक्चर र डिजाइनमा हाइटेक एलिमेन्ट्स जडान गरिएको छ । यो कारको डिजाइन एलियन विमान जस्तो देखिने कम्पनीले जानकारी दिएको छ । यो कारमा अटोनोमस ड्राइभिङका लागि अन्य सेन्सर पनि जडान गरिएको छ । फ्युचरन कारमा टाइगर नोज फ्रन्ट ग्रिल समेत समावेश छ । यो एसयुभीमा फ्लेक्जिबल क्याबिन छ । यसमा दुईवटा फ्लेक्जिबल फ्रन्ट सिट छन् भने यसमा भएको जीरो गुरुत्वाकर्षण सिटिङ पोजिसनका कारण लामो दूरीको यात्रामा ड्राइभरलाई थकान महसुस हुँदैन ।

अटो

प्रदूषणबाट जोगाउने मेभोक्सको हेलमेट

- साप्ताहिक संवाददाता

विश्वमा बढिरहेको प्रदूषणलाई ध्यानमा राखेर मेभोक्सलेले एयर प्युरिफायर हेलमेट लन्च गरेको छ । मेभोक्सले हाललाई एफएक्स३०० म्याक्स (मोनो) तथा एफएक्स३० म्याक्स डी१पी (ग्राफिकल) हेलमेट बजारमा उतारेको छ ।
उक्त हेलमेट भारतीय मात्र नभई युरोपियन सुरक्षा मापदण्डअनुसार निर्माण गरिएको बताइन्छ । यो हेलमेटमा ९३ प्रतिशतसम्म प्रदूषण रोक्ने क्षमता भएको कम्पनीले दाबी गरेको छ । यो हेलमेट एक्टिभेटेड कार्बन एयर फिल्टरयुक्त छ । एक्टिभेटेड चारकोलले हावामा भएको खराब एयरबर्न पार्टिकल्स, केमिकल तथा ग्याँस सोस्छ र फेरि हावामा मिसिन दिँदैन । यसको एयर फिल्टरलाई निकालेर सफा समेत गर्न सकिन्छ ।
नेपाली बजारमा पनि केही महिनादेखि सत्यदीप इन्टरनेसनलले मेभोक्सका हेलमेट बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा एफएक्स३०० म्याक्स (मोनो) को मूल्य ४ हजार ७ सय ४५ रुपैयाँ तथा म्याक्सको मूल्य ५ हजार १ सय २८ रुपैयाँ पर्ने बताइएको छ ।

Page 27
कर्पोरेट

कसरी हुन्छ मानव संसाधन व्यवस्थापन ?

- साप्ताहिक संवाददाता

प्रेमलाल बस्याल , प्रमुख मानव संसाधन विभाग लुम्बिनी विकास बैंक |

मानव संसाधन व्यवस्थापन भन्नाले संस्थाको कर्मचारी व्यवस्थापन भन्ने बुझिन्छ । संगठनका लागि मानव संसाधनलाई एउटा महत्वपूर्ण साधन मानिन्छ । मानव साधनबिनाको संगठनको परिकल्पना गर्न सकिँदैन । त्यसैले मानव संसाधनको सही व्यवस्थापन गर्न सकेको खण्डमा मात्र संगठनले लिएको लक्ष्य प्राप्त गर्न सक्छ ।
विगतमा मानव संसाधन विभाग भन्नाले कर्मचारीको हाजिरी गर्ने, बिदा र तलब वितरण गर्ने कार्य मात्र हो भन्ने बुझिन्थ्यो । आजको समयसम्म आइपुग्दा मानव संसाधनसम्बन्धी बुझाइमा निकै परिवर्तन आइसकेको छ । नेपालमा पनि मानव संसाधनलाई महत्व दिन थालिएको छ । अहिले हरेक संस्थाले उच्च तहका अधिकारीहरूको नेतृत्वमा मानव संसाधनको छुट्दै विभाग स्थापित गर्न थालेका छन् ।
मानव संसाधनले साधन परिचालन गर्ने, योजना बनाउनेदेखि लिएर निर्णय गर्ने कार्यसमेत गर्छ । हरेक संस्थामा भएको मानव संशाधन विभागले व्यवस्थापनका लागि विभिन्न काम गर्नुपर्ने हुन्छ ।
व्यवस्थापनका लागि कर्मचारी भर्ना छनौट, तालिम वृद्धि विकास, सेवा सुबिधा, कामप्रतिको प्रेरणा, अभिवृद्धि आदि काम गर्नुपर्ने हुन्छ । संगठनमा कर्मचारीहरू हरेक प्रकृतिका हुन्छन् । यसले गर्दा एउटा व्यक्तिको स्वभाव अर्कोसँग नमिल्न सक्छ । त्यसकारण पनि कर्मचारीको मनोवृत्ति, उनिहरूको मनोभावना बुझेर उनीहरूलाई नियुक्ति गर्नुपर्ने हुन्छ । कामको सन्दर्भमा भने कर्मचारीहरूको राम्रो कामको पहिचान गरी उचित सेवा सुविधा कर्मचारी अभिवृद्धिजस्ता कार्यहरू गरी प्रोत्साहन गर्न सक्नुपर्छ ।
संस्थामा कर्मचारी छनौटको सन्दर्भर्मा भने उम्मेदवारको क्षमता,योग्यता, शिक्षा अनुभवजस्ता कुराको ख्याल गरी उपयुक्त भए आवश्यकताअनुसार तालिम एवं सेवा–सुविधा दिई कर्मचारी भर्ना गर्न सकिन्छ । संस्थाभित्र माथिल्लो तहदेखि तल्लो तहसम्मका कर्मचारीहरूबीचको समन्वय पनि त्यत्तिकै जरुरी हुन्छ । यसले गर्दा मानव संसाधन एकजुट भै लक्ष्य प्राप्ति सहज हुन्छ ।

कर्पोरेट

के हो शैक्षिक ऋण ?

- साप्ताहिक संवाददाता

कसरी पाइन्छ ?
युवाहरूलाई उद्यमशील बनाएर शैक्षिक बेरोजगारीको दर घटाउने उद्देश्यसहित नेपाल सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत शैक्षिक युवा स्वरोजगार कार्यक्रम ल्याएको छ । यो कार्यक्रममार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण लिन सकिन्छ । यो शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाबाट उपलब्ध गराइन्छ । स्नातक उत्तीर्ण विद्यार्थीले शैक्षिक कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कसरी पाइन्छ ऋण ?
 शैक्षिक कर्जा लिन स्नातक तह उत्तीर्ण हुनुपर्छ ।
 उमेर ४० वर्ष ननाघेको हुनुपर्छ ।
 सक्कली शैक्षिक प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ ।
 प्यान नम्बर अनिवार्य हुनुपर्छ ।
 कालोसूचीमा नपरेको व्यक्ति हुनुपर्छ ।
 घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् आदि निकायमध्ये कुनै एकबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसायसम्बन्धी सीप विकास तालिम लिएको हुनुपर्छ ।
 विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाहरूको हकमा नेपालको कुनै विश्वविद्यालयको समकक्षतासम्बन्धी प्रमाण
आवश्यक हुन्छ ।

कर्पोरेट

अफिस टिफिन टाइम

संगीता लामिछाने , डाइटिसियन

अफिसमा कस्तो खाजा खाने ?
प्रत्येक व्यक्तिको दैनिक क्यालोरीको आवश्यकता उसको शरीर, लैंगिक अवस्था तथा शारीरिक क्रियाकलाप अनुसार फरक–फरक हुन्छ । शरीरको आवश्यकता अनुसार शक्तिको परिणाम निर्माण हुन्छ । शरीरमा आवश्यकताअनुसार शक्ति प्राप्त भएन भने त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । अफिसमा दैनिक खाजा खाँदा सन्तुलित किसिमले खानुपर्छ ।

खाजामा यसरी सन्तुलन मिलाउन सकिन्छ
अफिसमा खाजा खाँदा चिल्लो कम भएका चिजहरू जस्तै रोटी–परौठा–दही आदि रोज्नुपर्छ ।
सिजनका फलफूल १ सयदेखि ३ सय ग्रामसम्म दैनिक खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।
खाजासँगै शरीरमा पानीको मात्रा पनि कम हुन दिनु हुँदैन । त्यसैले दिउँसो ३ लिटरसम्म पानी पिउनुपर्छ ।
अफिसमा खाजाका रूपमा तरकारी पनि खान सकिन्छ । दिउँसो १ प्लेट तरकारी पर्याप्त हुन्छ ।
शरीरको शक्ति सन्तुलन कायम राख्न क्यालोरीको परिमाणमा मात्र ध्यान नदिई शारीरिक क्रियाकलापमा पनि त्यत्तिकै ध्यान पुर्‍याउनुपर्छ । मकैले कोलेस्ट्रोल कम गर्ने भएकाले अफिस खाजाका रूपमा मकै पनि खान सकिन्छ ।

कर्पोरेट

अहिलेका चलचित्रमा सन्देश भेटिँदैन

- साप्ताहिक संवाददाता
चंकी क्षेत्र, सिइओ सगरमाथा इन्स्युरेन्स

इन्स्युरेन्सको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सन् १९९१ स्नातक अध्ययनरत छँदै विज्ञापन देखेर आवेदन दिएको थिएँ, त्यहींबाट छनौट भएर ओरिएन्टल इन्स्युरेन्समा जागिर सुरु गरेको हुँ । त्यसपछि अन्य विभिन्न इन्स्युरेन्स कम्पनीमा काम गरे । अहिले चार वर्षदेखि भने सगरमाथा इन्स्युरेन्सको सिइओको कार्यभार सम्हालिरहेको छु ।

अफिसमा कति समय बिताउनुहुन्छ ?
अफिस टाइम १० देखि ५ बजेसम्म हो, तर अफिसमा बस्ने समय भने निश्चित हुँदैन । सेवाग्राहीहरूले आपतकालीन अवस्थामा मात्र इन्स्युरेन्स कम्पनी खोज्ने भएकाले सधैं उत्तरदायी भैरहनुपर्ने हुन्छ ।

समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
कामको प्रकृतिअनुसार समय छुट्याउँछु ।

घुमफिरमा कति रुचि राख्नुहुन्छ ?
घुमफिर गरिरहेको हुन्छु । कहिले अफिसको कामले पनि घुम्छु भने कहिले परिवारसँग । म नेपालका थुप्रै ठाउँ पुगिसकेको छु । पोखराचाहिँ सबैभन्दा मनपर्ने ठाउँ हो । विदेश भ्रमण पनि गरिरहेको हुन्छु । अहिलेसम्म २५ देश घुमिसकेको छु ।

फिटनेसका लागि के गर्नुहुन्छ ?
बिहान दुई घण्टा साइकिलिङ गर्छु ।

पुस्तक कत्तिको पढ्नुहुन्छ ?
पुस्तक पनि पढिरहेको हुन्छु । पहिले उपन्यास खुब पढ्थें । अहिले भने वित्तीय क्षेत्रका पुस्तकहरू पढ्छु ।

चलचित्र कत्तिको हेर्नुहुन्छ ?
परिवारसंग बसेर चलचित्र हेरिरहेको हुन्छु । प्रायः बेलुकाको समयमा चलचित्र हेर्ने गरेको छु । नेपाली चलचित्र नै बढी हेर्छु । आजकालका चलचित्र बसेर हेरुन्जेल रमाइला हुन्छन्, सन्देशमूलक भने खासै हुँदैनन् ।

कुन सवारी चलाउनुहुन्छ ?
होन्डाईको टुसान ।

एसेसरिजहरूप्रति कत्तिको सौख छ ?
एसेसरिज तथा मोबाइल प्रायः विदेशबाट गिफ्ट आउने गरेको छ । घडी भने छुटाउँदिन । गिफ्ट आउने भएकाले ब्रान्ड खोज्दिनँ ।

खानपानको शैली कस्तो छ ?
सामान्य छ । खानपानमा मेरो खासै रोजाइ पनि छैन । जे सहज हुन्छ त्यही खाने गरेको छु ।

मद्यपान गर्नुहुन्छ ?
कहिलेकाहीं ।

कुन ब्रान्डको मद्यपान बढी रुचाउनुहुन्छ ?
कार्ल्सबर्ग बियर मन पर्छ ।

Page 28
हेल्थ एन्ड फिटनेस

के हो मस्तिष्कघात ?

- साप्ताहिक संवाददाता

मस्तिष्कघात साधारण भाषामा बुझ्दा मस्तिष्कमा हुने आघात हो । यस्तो आघात नै पक्षाघातको कारण हुन्छ । समयमै उपचार गराउन नसके यही कारणले मानिस अपांग हुन पुग्छ । मस्तिष्कघात एउटा आपतकालीन अवस्था हो । यसलाई सुरुमै चिनेर उपचार गराए प्रभावित मानिसले सामान्य जीवन जिउन सक्छ । यसको उपचार संभव छ । मस्तिष्कघातको लक्षण देखा परेको चारघन्टा भित्र उपचार सुरु गर्न सके मानिसलाई पक्षघातबाट जोगाउन सकिन्छ ।

लक्षण
मस्तिष्कघात हुनुअघि मस्तिष्कमा प्रवाह हुने रगतमा अवरोध सिर्जना हुन्छ । यस्तो हुँदा अक्सिजनको अभावमा मस्तिष्कका कोषिकाहरू मर्न थाल्छन् । चिकित्सकका अनुसार हृदयाघातमा जस्तो मस्तिष्कघातमा कुनै पूर्व संकेत देखिँदैन । यसले मस्तिष्कको जुन भागलाई प्रभावित गरिरहेको हुन्छ सोहीअनुसार लक्षण देखापर्छ । मस्तिष्कघात कुनै पनि शारीरिक प्रक्रियाले अचानक काम गर्न बन्द गर्ने प्रक्रियासँग जोडिएको हुन्छ । शारीरिक सन्तुलन, आँखा, अनुहार, हात, बोल्ने तरिका आदिमा कुनै अप्ठ्यारो महसुस भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

मस्तिष्कघातको जोखिमबाट कसरी बच्ने ?
नेपालमा मस्तिष्कघातका बिरामी यति नै छन् भन्ने खासै तथ्यांक छैन । यद्यपि न्युरोलोजिकल स्ट्रोक भएर अस्पताल आउने बिरामीहरूको संख्या दोस्रो स्थानमा रहेको केही अध्ययनले देखाएका छन् । मस्तिष्कघात धेरैजसो अवस्थामा ४५ वर्षभन्दा माथिको उमेरसमूहमा देखा पर्छ तर नेपालमा भने मस्तिष्कघात ४५ वर्षभन्दा कम उमेरका मानिसमा समेत देखा परेको तथ्यांक छ । सामान्य अवस्थामा ५५ वर्षको उमेरपछि ६ जनामध्ये १ पुरुष तथा ५ जनामध्ये १ महिलामा मस्तिष्कघात हुने खतरा धेरै गुणा बढी हुन्छ । हालसालै गरिएको एक अनुसन्धान अनुसार संसारभर प्रत्येक १ मिनेटमा ३ जना अर्थात् २० सेकन्डमा १ जना मस्तिष्कघातको सिकार हुने गरेका छन् । यसरी मस्तिष्कघातको सिकार हुनेहरूमध्ये दक्षिण एसियाका ९० प्रतिशत बिरामी समयमै अस्पताल पुग्न सक्दैनन् ।

मस्तिष्कघातसँग चिनी र नुनको सम्बन्ध
मधुमेह, उच्च कोलस्टेरोल, उच्च रक्तचाप तथा मोटोपनबाट ग्रसित मानिसहरू नै धेरैजसो मस्तिष्कघातको सिकार हुन्छ । प्रशोधित तेल, चिनी, नुन तथा तारेका खानेकुरा धेरै खानेहरूलाई मस्तिष्कघातको खतरा बढी हुन्छ ।

के गर्ने ?
- अचानक अनुहार बांगियो, हात सिधा भएन, बोली लरखरायो भने मस्तिष्कघात भयो भनेर बुझ्नुफर्छ ।
- यस्तो स्थितिमा हेलचेत्र्याइँ नगरी समयमै अस्पताल पुग्नुपर्छ ।

मस्तिष्कघातबाट जोगिन
जीवनशैली परिवर्तन गर्नुपर्छ । चिल्लो तथा मसालेदार खाना बढी खानु हुँदैन । धूम्रपान गर्नु हुँदैन । नियमित शारीरिक व्यायाम गर्नुपर्छ । उच्च रक्तचाप तथा मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । नियन्त्रित जीवनशैलीका कारण अहिले विकसित देशमा मस्तिष्कघातका बिरामीको संख्या घटिरहेको छ भने विकासोन्मुख देशमा बढ्दो क्रममा छ ।

हेल्थ एन्ड फिटनेस

मस्तिष्कघात र फिजियोथेरापी

- साप्ताहिक संवाददाता
नविना श्रेष्ठ वैद्य , फिजियोथेरापिस्ट

मस्तिष्कघातबाट पीडित व्यक्तिको उपचारमा फिजियोथेरापीको ठूलो भूमिका हुन्छ । रक्त नली फुटेर हुने मस्तिष्कघातलाई ब्रेन हेमरेज भनिन्छ भने रक्तनली सुकेर हुने मस्तिष्कघातलाई इस्चेमिक स्ट्रोक भनिन्छ । सामान्य रूपमा हेर्दा मस्तिष्कघात भएका मानिसको मुख बांगिएको तथा हातखुट्टा लुलो भएको पाइन्छ । यसको उपचारका लागि चिकित्सकका साथै फिजियोको पनि आवश्यकता हुन्छ । लक्षण देखिनासाथ बिरामीलाई तुरुन्त अस्पताल लानुपर्छ । कतिपय जटिल अवस्थामा बिरामीलाई चिकित्सक, मनोचिकित्सक, फिजियो लगायतका पूरै टिमको आवश्यकता पर्न सक्छ । बिरामीको नचलेका अंग चलायमान बनाउन फिजियोको महत्वपूर्ण भूमिका हुन्छ ।
मस्तिष्कघातपछि कतिपय बिरामीको हात तथा खुट्टा नचल्ने तथा मुख बांगिने हुन्छ । यस्ता बिरामीलाई आवश्यकताअनुसार फिजियो सेवा दिनुपर्ने हुन्छ । कतिपय बिरामीको एक भाग मात्र चल्छ । यस्तो अवस्थामा उसको अर्कातिरको भाग कसरी सक्रिय बनाउने भनेर त्यो भागमा मात्र केन्द्रित रहेर फिजियो गरिन्छ । देब्रे भाग चलेको छैन भने देब्रतिरमात्र बोलाउने र उसलाई त्यो साइडमा फर्कन बाध्य बनाइन्छ ।
आईसियुमा राखिएका बिरामीलाई अवस्था हेरेर दिनमा २–३ पटक फिजियोको आवश्यकता पर्न सक्छ भने वार्डमा सारेपछि वा घर लगेपछि दिनको १ घन्टा फिजियो गराउनुपर्छ । बिरामी उसको अवस्थाअनुसार उपचारपछि ६ महिनामा हिँड्डुल गर्न सक्ने हुनसक्छ ।

राशिफल

यो साताको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मेष

नगद तथा उधारो कारोबार गर्दा सावधानी अपनाउनुपर्नेछ । मित्रवर्गले वचनअनुरुप समयमै आर्थिक सहयोग नगर्दा संकट बेहोर्नुपर्ला । परिस्थिति पहिचान गरी पुरुषार्थ देखाउन सके प्रतिष्ठा प्राप्त हुनेछ । अनुकूल तथा प्रतिकूल अवस्थामा अरुको मुख ताक्दा पछि परिएला । 

 

वृष

मन पराउने साथीको भावना कदर गर्नु उचित्त हुन्छ । भैतिक साधनको उपयोगबाट अरूको मन लोभ्याउन सकिनेछ । पुराना कामबाट प्राप्त प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्‍याउनेछ । सामूहिक लगानीमा नयाँ कार्य प्रारम्भ गर्न मत मिल्नेछ । सुनौलो रंगको अनुसरण गर्दा अपेक्षाभन्दा छिटो सफलता प्राप्त होला ।

 

मिथुन

तथ्य कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिएला । आफ्नो क्षमता प्रदर्शन गरी इनाम प्राप्त गर्न सकिनेछ । मन मिल्ने साथिको सुझावको मात्र विश्वास गर्नाले पछि परिएला । प्रेमको नाटक गरी झुक्याउनेहरूसँग सचेत रहनुपर्नेछ । पिपलको पूजाले अघि बढ्न मद्दत गर्नेछ ।

 

कर्कट

सामाजिक जिम्मेवारी पूरा गर्दा आफ्नो पहिचान वृद्धि हुनेछ । व्यापार–व्यवसायबाट अपेक्षाभन्दा बढी लाभ होला । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ । वैदेशिक यात्राको योग छ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सहकर्मीहरूसँग वैचारिक मतभिन्नता उत्पन्न हुनसक्छ ।

 

सिंह

विशिष्ट व्यक्तिहरूको सल्लाहमा गरिएका कार्य सफल हुनेछन् । अचल सम्पत्तिको खरिद बिक्रीमा नोक्सान हुनेछैन । भेटघाटले मनोबल उच्च बनाउनेछ । मनोरञ्जन गर्दा खर्चको भार आफैंले बेहोर्नुपर्ला । शारिरिक श्रम गर्दा स्वास्थ्य अनुकूल रह्नेछ । सप्ताहान्तमा अध्ययनमा अवरोध देखा पर्ने सम्भावना छ ।

 

कन्या

राजनैतिक विवादको सामना गर्नुपर्ला । शौक्षिक क्षेत्रको लगानी तथा मेहनत खेर जानेछैन । महत्वपूर्ण सभा–सम्मेलनमा सहभागी हुने अवसर जुट्न सक्छ । व्यवसाय परिर्वतन गर्ने विषयमा पारिवारिक मत मिल्नेछ । चन्द्रमाको आराधना गर्दा थप सफलता प्राप्त गर्न सकिन्छ । 

 

तुला

पुरुषार्थ गरी धन आर्जन गर्न सकिनेछ । सुमधुर पारिवारिक वातावरणले नयाँ कार्य थालनी गर्न ऊर्जा प्रदान गर्नेछ । मान–प्रतिष्ठा वृद्धि हुनेछ भने आकर्षक सवारी साधन खरिद हुने सम्भावना पनि छ । कार्य बोझ वृद्धि भै मानसिक चाप पर्ने हुदाँ भ्रमण तथा योग अभ्यासमा जोड दिनुहोला ।

 

वृश्चिक

नौला चुनौतीहरूको सामनामै साता व्यतीत हुनेछ । दीर्घकालीन आम्दानी हुने व्यवसायमा लगानी गरिनेछ । विपरीत लिंगीले विदेश जाने प्रस्ताव राख्न सक्ने सम्भावना छ । प्रतिष्ठत व्यक्तिको आग्रह स्वीकार गर्दा आफूलाई फाइदै होला । साताको अन्त्यमा खनापानमा विशेष ध्यान दिनुपर्नेछ ।

 

धनु

चासो नभएका विषयमा सरोकार राख्दा दुःख पाइनेछ ।सोमबारदेखि कतिपय बाधा स्वतः हट्नेछन् । हितैषीहरूको सहयोग जुट्नाले रचनात्मक काममार्फत धेरैलाई आकर्षित गर्न सकिनेछ । बलजफतिले काम बिग्रनेछ भने गल्ती सच्याउने प्रतिबद्धताले गुमेको प्रतिष्ठा फर्काउनेछ । 

 

मकर

मित्रजनको सहयोगबाट व्यापार–व्यवसायमा सफलता हात पर्नेछ । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध समधुर रहला । रोजगारीका नौला अवसर हात लाग्ने छन् । साथीभाइसँग मनोरञ्जनमा सरिक भइनेछ । मैसमी फेरबदलबाट देखा पर्ने शारीरिक समस्याप्रति सचेत हुनुपर्नेछ ।

 

कुम्भ

सामाजिक कार्यमा सहभागी भै जस आफनो पोल्टामा पार्न सकिनेछ । प्रेमिकाको मार्गदर्शनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । मान्यजनको सुझाव आत्मसात् गर्नु नै उचित हुन्छ । कला–साहित्यको क्षेत्रबाट बढी लाभ लिन सकिनेछ । सेतो रंग तथा तरल पदार्थको व्यवसायमा लाभ होला ।

 

मीन

राजनैतिक तथा विवादित विषयको नेतृत्व गर्न अग्रसर भइनेछ । कुरा काट्नेहरू तथा असहयोगीहरू स्वतः निर्मुल भै काममा राम्रो प्रतिफल हात पर्ने सम्भावना छ । मनभित्र उब्जिएको चञ्चलतामा संयम अपनाउनुपर्नेछ । भोजभतेर तथा मनोरञ्जनमा सहभागी हुँदा समयको ख्याल गर्नुहोला ।

Page 29
प्रेम वार्ता

परिवर्तन हुँदै सम्बन्ध

- रोजिन शाक्य

प्रेम, एक अभूतपूर्व अनुभूति जसलाई जीवनको सुन्दर उपहार तथा स्वरुपका रुपमा ग्रहण गरिन्छ । यौन, एउटा अलौकिक आनन्द र सामिप्यता जसलाई क्षणभरको नभै जीवनभरिका लागि आपसी निकटताको आधार मानिन्छ । वचनबद्धता, एउटा त्यस्तो समर्पण जसमा मानिसले आफूलाई भन्दा आफ्नो सम्बन्धमा रहेको अर्को पक्षको खुसी एवं आवश्यकता पूर्तिमा आफ्नो सुख खोज्छ, तर समयसँगै, बदलिंदो परिवेशसँगै यी सबै कुराको परिकल्पना र वास्तविकताबीच तालमेल बिग्रँदै गएको छ वा अर्थ नै परिवर्तन हुन थालेको छ । आज प्रेमको अर्थ आकर्षण, यौनको अर्थ आनन्द र वचनबद्धताको अर्थ स्वार्थ हुन पुगेको छ ।
महिला–पुरुषबीचको रोमान्टिक सम्बन्धलाई पूर्णता प्रदान गर्ने यी तीन शब्दको अर्थ र प्रयोजन आजको अवस्थामा पूर्ण रुपमा परिवर्तित भएको छ । विगतलाई हेर्ने हो भने सम्बन्धको परिभाषाभित्र समेटिने महिला–पुरुषहरू धेरै हदसम्म उनीहरूको घर–परिवार एवं समाजले बनाएको वा स्वीकार गरेको मूल्य मान्यता वा नियमअन्तर्गत नै आपसी सम्बन्धको दायरामा बाँधिन्थे । उनीहरूको जिम्मेवारी एवं कामको दायरा पनि निश्चित हुन्थ्यो । मर्यादा तथा अनुशासन पनि तय हुन्थे र त्यसलाई अस्वीकार गर्ने परिस्थिति पनि हुँदैनथ्यो ।
यद्यपि आजको परिवेश त्यस्तो छैन । आज प्रेम धेरैका लागि आकर्षणको दायराभित्र समेटिन पुगेको छ, जसलाई निर्वाह गर्ने अवधि त्यति मात्र हुन्छ जब सम्म एक–अर्काबीचको आकर्षणको लक्ष्मण रेखा पार हुँदैन । यौनका लागि पनि अब सम्बन्धको वचनबद्धता आवश्यक मानिंदैन । यौन शरीरको आवश्यकता मानिएसँगै यसलाई भावनात्मक लगाव, आपसी सम्बन्धको आत्मीयताभन्दा पनि एक अर्काको शरीरको आवश्यकता पूर्तिका रूपमा बुझ्न थालिएको छ । त्यसैले विवाह रुपी संस्थाको धरातल कमजोर हुँदै गएको छ ।
विगतमा निजता एवं सामाजिकताको अर्थ निश्चित थियो । घर–परिवार निजी र त्योभन्दा बाहिरको दायरामा सामाजिकता, तर आज यसमा पनि धेरै अन्तर आएको छ । आज घर परिवार भित्रै दाम्पत्य जीवन र दाम्पत्य जीवनभित्र पनि महिला–पुरुष दुवैको आ–आफ्नो निजता वा व्यक्तिगत जीवनको उपस्थिति देखिन्छ । दाम्पत्य जीवनमै पर्सनल स्पेश एवं व्यक्तिगत स्वतन्त्रताको आवश्यकता तथा त्यसको उपयोगलाई निकै महत्वपूर्ण मान्न थालिएको छ ।



आजको युवा पुस्ता जो विवाह योग्य छ, उसले प्रेम, यौन र वचनबद्धताप्रति देखाएको फरक सोच तथा व्यवहार उसको बाल्यावस्थाको वातावरणमा निर्भर हुन थालेको छ । हाम्रो समाजले फड्को मारेको छ, हामीमा परिवर्तन आएको छ र सँगै हाम्रो सोच पनि बदलिएको छ । हिजोआज धेरैजसो मानिस वचनबद्धता व्यक्त गर्न चाहँदैनन्, कारण उनीहरू स्वयंलाई पनि थाहा हुँदैन कि उनीहरूको सम्बन्ध कति दीर्घायु र कति सुमधुर रहन्छ । जीवनशैली फास्ट फूडकै रफ्तारमा अघि बढेको छ र यसको सबैभन्दा बढी प्रभाव परेको छ हाम्रो सम्बन्धमा । विगतका दिनमा सम्बन्धमा भएका व्यक्तिहरू एक–अर्काका लागि समर्पणको भाव राख्थे । आफ्नो चाहनालाई छोडेर अर्को पक्षको आकांक्षा पूरा गर्ने प्रयासमा रहन्थे । अर्को पक्षको सपनामै आफ्नो चाहना साकार गर्ने प्रयत्न गर्थे र यी सबै कुरा बाध्यतामा नभै सहर्ष स्वीकार्य अवस्थामा हुन्थ्यो । आज परिस्थिति फरक देखिन्छ । आज सबै आत्मकेन्द्रित हुँदै गएका पाइन्छन् । आफ्नो खुसी, आफ्नो सपना, आफ्ना आकांक्षा, सम्बन्धमा भएर पनि दुवै पक्ष आ–आफ्नो व्यक्तिगत जीवनका निजी परिधि र पक्षहरूलाई नै महत्व दिंदै बाँच्न चाहेको देखिन्छ । स्वतन्त्र हुनुको अर्थले स्वतन्त्रताको महत्व र आवश्यकतालाई ओझेलमा पारेको अनुभव गर्न सकिन्छ । व्यक्तिगत जीवनको नाममा हामीबीच पनि म र मेरोले प्राथमिकता पाएको छ, जसमा अर्को पक्षले लगाव राख्दैन वा राख्ने अवस्था तथा अवसर हुँदैन । यो परिस्थितिमा साझेदारीको अर्थ गलत सावित हुन्छ । विश्वास र भरोसाको अर्थ दिवास्वप्न बन्छ पुग्छ भने वचनबद्धता र आत्मीयताका लागि कुनै ठाउँ रहने सम्भावना हुँदैन ।
अब बाँकी रह्यो यौनको कुरा । यौन आजभोलि तीव्र गतिमा क्याजुयल हुँदै गएको पाइन्छ । आफू सम्बन्धमा रहेको व्यक्तिसित नै यौन जीवन जिउनुपर्छ भन्ने आवश्यकता पनि रहन छोडेको छ । यौनका लागि बहु–यौनसाथीको विकल्प पनि बढ्दो छ र एक रातको सम्बन्ध पनि स्वीकार्य हुँदै गएको पाइन्छ । यौनको अर्थ शारारिक सम्बन्ध भन्ने सहज बुझाईमा समेटिन पुगेको छ । यही कारणले गर्दा विवाह पूर्व यौन सम्बन्धका लागि सहजता बढ्दो छ । यौनजीवनको प्रारम्भका लागि विवाहको आवश्यकता महसुस गरिंदैन । विवाहको प्रयोजन यौन आवश्यकताको परिपूर्तिका लागि मात्र होइन, तर आजको पुस्ताले विवाहको योभन्दा फरक उद्देश्य देख्न छोडेको छ र त्यसैले यौनका लागि मात्र वैवाहिक जीवनमा प्रवेश गर्नु कुनै बुद्धिमानी नभएको सोच बढ्दै गएको छ ।

यौन जिज्ञासा र समाधान

केही तथ्य

- साप्ताहिक संवाददाता

यौन जीवनसँग गाँसिएका केही समस्याको सामना प्रायः हरेक जोडीले आफ्नो जीवनको कुनै न कुनै समयमा गरेकै हुन्छन् । फरक के मात्र हो भने कसैले यस्तो समस्या प्रारम्भीक चरणमै भोग्नुपर्छ भने कसैमा यस्तो समस्या ढिलो गरी देखा पर्छ । यस्ता समस्या सामान्य नै भए पनि लगभग सबै यौन जोडीको जीवनमा एक न एकपटक अवश्य देखा पर्छ ।
-जुन जोडीले यौन सम्पर्क अघि पोर्न चलचित्र हेर्छन्, उनीहरूको मनमा कुनै न कुनै बेला पोर्न चलचित्रमा देखाइएका आसन वा तरिका दोहोर्‍याउने उत्कट चाहना पलाउँछ । यस्तो बेला लगभग सबैजसो पुरुषमा उनीहरूको लिंगको आकार तथा महिलाहरूमा आफ्नो यौन रुचिका विषयमा चिन्ता सिर्जना हुन सक्छ ।
-यौन सम्पर्कको प्रारम्भमा महिलाहरू के सोच्छन् भन्ने उनीहरूले गर्नुपर्ने केही छैन, जे गर्ने हो उनको यौन साथीले नै गर्छ । यस्तो सोचले महिलाको मात्र नभै पुरुषको यौन जीवनमा समेत नकारात्मक असर पार्छ । त्यसैले हाम्रो जस्तो समाजमा लोग्ने–स्वास्नी वा अन्य यौन जोडीमा कतिपय यौनजन्य समस्या देखा पर्छन् । यस्ता समस्यामा शीघ्र स्खलन, एक पक्षीय सन्तुष्टि वा असन्तुष्टि प्रमुख मानिन्छन् ।
-यौन सम्पर्कको प्रारम्भिक दिनसँगै जीवनको कुनै न कुनै मोडमा लगभग हरेक पुरुषले के सोच्छन् भने के उसले आफ्नो यौन साथीलाई पर्याप्त सन्तुष्टि दिन सकेको छ ? यस्तो सोच पुरुषको तुलनामा महिलाहरूमा शुन्य हुन्छ । जबकि अधिकांश महिला भने यौन सम्पर्कका क्रममा उनले जे जस्तो सन्तुष्टि प्राप्त गरिन, सबै महिलाले यस्तो सन्तुष्टि प्राप्त नगर्न सक्छन् भन्ने कुरा सोच्छन् ।
-गर्भनिरोधक साधनको प्रयोग विना यौन जीवनको आनन्द लिन चाहने अधिकांश महिला वा पुरुष सधैजसो अनिच्छित गर्भको डरमा बाँचेका हुन्छन् । यस्ता जोडी लाज वा अप्ठ्यारोका कारण स्वास्थ्यकर्मीसँग गर्भनिरोधसम्बन्धी सल्लाह लिन चाहँदैनन् । यस्ता जोडीलाई सामान्यतः यो समस्या उनीहरूको मात्र होइन, प्रायः सबै जोडीमा हुन्छ भन्ने सल्लाह दिइन्छ ।

यौन जिज्ञासा र समाधान

यौन जिज्ञासा

- डा. राजेन्द्र भद्रा

पुरुषले पुरुषसँग र महिलाले महिलासंग मात्र किन समलिङ्गी सम्बन्ध राख्छन् ? मलाई लाग्छ– एउटा स्वस्थ दिमाग भएको सचेत महिला–पुरुषबाट त्यस्तो काम हुनै सक्दैन । पशुले नगर्ने यस्तो निन्दनीय काम समलिङ्गीहरूले किन गर्छन् ? सभ्य शहर र समाजका लागि यी समलिङ्गी बिषालु सर्प होईनन् र ?
के. राज

जसरी धेरै जसो व्यक्ति यौनको दृष्टिले विपरित लिङ्गीबाट आकर्षित हुन्छन्, त्यसैगरी केही व्यक्ति समान लिङ्गीतर्फ आकर्षित हुन्छन् । यो एकदमै प्राकृतिक र स्वभाविक कुरा हो । यसलाई मानव यौनिकतामा भएको विविधता मानिन्छ । यसलार्ई घृणित मान्नुपर्ने कुनै कारण छैन र उहाँहरूलाई कुनै पनि आधारमा विषालु सर्प भन्ने आधार छैन । यहाँ आवश्यकता फरक यौनिकता स्वीकार गर्ने सोचको छ ।

Page 30
खेलकुद

नेपालले कति पदक जित्नेछ ?

- साप्ताहिक संवाददाता

सन् १९९९, आठौं दक्षिण एसियाली खेलकुदको अवसर । त्यति बेला नेपालले आफ्नै भूमिमा भएको प्रतियोगिताको फाइदा उठाउँदै ३२ वटा स्वर्ण जितेको थियो, सबै गरेर ६६ पदक । त्यो सागको इतिहासमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन हो । त्यसभन्दा अघि पनि नेपालले सन् १९८४ मा पहिलो संस्करणको साग आयोजित गरेको थियो र त्यतिबेला नेपालको हातमा परेको थियो, ४ वटा स्वर्ण, कुल २४ पदक । यी त इतिहासका कुरा भए ।
आठौं सागयता पनि नेपाली खेलकुदले केही पुस्ता आएको र गएको देखिसकेको छ । अब वर्तमान, अबको केही दिनमै नेपालमा १३ औं सागको आयोजना हुँदैछ । नेपालमा साग खेलकुद हुन लागेको यो तेस्रो अवसर हो । मंसिर १५ देखि २४ गतेसम्म चल्ने यो प्रतियोगितामा नेपालले कति पदक जित्नेछ त ? यी जित्ने पदकमा स्वर्ण कति हुनेछन् ? यी यस्ता प्रश्न हुन्, जसको सीधा–सीधा उत्तर खेलाडीको प्रदर्शनमै भर पर्नेछ तर अनुमान गर्न सकिन्छ, नेपालले यसपटक आठौं सागको तुलनामा बढी पदक जित्नेछ ।
यसपटकको सागमा २८ खेल हुनेछन् । प्रतियोगिता सुरु हुँदासम्म त्यसमा थपघट हुन सक्छ । नेपालको यसपटकको प्रदर्शन धेरै हदसम्म दुई खेलमा निर्भर हुनेछ र ती हुन्— कराँते र तेक्वान्दो । आठौं साग हुँदा नेपालले धेरै पदक जित्न सक्नुको सबैभन्दा ठूलो कारण यिनै दुई खेल थिए । यसपटकको समीकरण पनि यही छ । नेपालले यसपटक यी दुई खेलमा जति बढी पदक जित्नेछ, नेपालको प्रदर्शन अझ राम्रो हुने निश्चित छ ।
सम्भवतः नेपालले कराँतेमा क्लिन स्विपजस्तै गर्न सक्छ, किनभने यसमा दक्षिण एसियामै बलियो मानिएको भारतको सहभागिता छैन । भारतको अनुपस्थितिमा नेपालले यसमा बढीभन्दा बढी पदक जित्न सक्छ । तेक्वान्दोबाट पनि नेपालले लगभग उस्तै प्रदर्शन गर्ने अपेक्षा राख्न सकिन्छ । त्यसपछि नेपालले बढी पदक भित्र्याउन सक्न खेल मार्सल आर्ट्सकै अर्को विधा उसु हो । आठौं सागमा उसु समावेश थिएन् । त्यसैले उसुबाट प्राप्त हुने पदक बोनसजस्तै सावित हुन सक्नेछ ।
जुडो र बक्सिङजस्ता खेलबाट पनि नेपालले कुनै न कुनै स्वर्ण जित्न सक्ने सम्भावना छ । जुडोमा पनि नेपालले लगातार राम्रो गरिरहेको छ । नेपालमा सर्वाधिक लोकप्रिय खेल फुटबल हो भने त्यसबाट पनि नेपालले पदक हात पार्ने सम्भावना उत्तिकै छ । नेपाल पुरुष फुटबलको डिफेन्डिङ च्याम्पियन हो भने महिला फुटबलको लगातारको उप विजेता । नेपालले फुटबलमा पनि राम्रो होस भन्ने अपेक्षा राख्नेछ । महिला फुटबलमा नेपालको फाइनल यात्रा निश्चित जस्तै छ ।
यस्तोमा नेपालले सबै खालका अपेक्षा पूरा गर्दै स्वर्ण जित्न सक्यो भने त्यो अद्वितीय हुने निश्चित छ । धेरैभन्दा धेरै पदक हुने दुई खेल हुन्— एथलेटिक्स र पौडी । यी दुई खेलमा नेपालको प्रदर्शन मध्यम स्तरकै हुनेछ । पौडीमा नेपालले अहिलेसम्म एक मात्र स्वर्ण जितेको छ र त्यो संयोगले प्राप्त पदक हो । यसपटक भने गौरिका सिंहले स्वर्ण पदकका लागि प्रयास गर्नेछिन् र उनी त्यसमा सफल भइन् भने त्यो ऐतिहासिक प्रदर्शन हुनेछ ।
भारोत्तोलनमा पनि धेरै पदक जित्ने सम्भावना हुन्छ । यो खेलमा नेपालको प्रदर्शन मध्यमस्तरको हुनेछ । टेबल टेनिसमा पनि स्वर्णको सम्भावना नकार्न सकिँदैन । नेपालको प्रदर्शन धेरै हदसम्म प्याराग्लाइडिङमा पनि भर पर्नेछ, तर यो खेल हुने–नहुने निश्चित छैन । अहिलेसम्म सबैले प्याराग्लाइडिङ यो सागमा हुनेछैन भनेर आशा मारिसकेका छन्, तर भाग्यले साथ दिएर यो खेल भयो भने तय छ, यो विधामा नेपालले क्लिन स्विप गर्नेछ ।

खेलकुद

हिमाल चुम्न ‘याक अट्याक’

- आश गुरुङ

चक्रीय अन्नपूर्ण पदमार्गमा सोमबारदेखि अन्तर्राष्ट्रिय स्तरको साइकल दौड ‘याक अट्याक–२०१९’ प्रारम्भ भएको छ । प्रतियोगिताको १३ औं संस्करणको पहिलो दिन सहभागीहरूले बेसीसहरदेखि घलेगाउँ जाने बाटो पुमागाउँ, बाग्लुङपानी, नजरेबाट चण्डिस्थान मकैडाँडा हुँदै बेसीसहरसम्मको ३० किलोमिटरमा साइकल कुदाए । दोस्रो दिन प्रतियोगीहरू हिमाली जिल्ला मनाङतर्फ लागे । यसरी उनीहरूले ७ दिन साइकल कुदाउनेछन् । चौथो दिन मनाङको मनाङ गाउँ (३, ५४० मि.) मा एक दिन ‘रेस्ट’ गर्नेछन् । उनीहरूको ९ दिने यात्राअन्तर्गत अन्तिम दिन म्याग्दीको तातोपानीदेखि पोखरासम्म साइकलको ग्रुपराइड तथा सवारीको यात्रा हुनेछ ।
प्रतियोगितामा नेपालसहित बेलायत, फ्रान्स, इटाली, जर्मनी, अमेरिका आदि १२ देशका २५ जना अन्तर्राष्ट्रिय साइकल रेसलर सहभागी छन् जसमध्ये ५ जना नेपाली छन् भने २ जना विदेशी महिला छन् । यसपटक एसियाली खेलकुदको बन्द प्रशिक्षणका कारण नेपाली महिलाहरू भने प्रतियोगितामा सहभागी छैनन् ।
यो प्रतियोगिताका क्रममा दोस्रो दिन चामे, तेस्रो दिन मनाङ, चौथो दिन मनाङ गाउँमा विश्राम हुने एक अट्याक कार्यक्रमका प्रबन्धक नेपालस्थित माउन्टेन बाइक कम्पनी (एमटीबी) का निर्देशक अजय पण्डित क्षेत्रीले बताएका छन् । क्षेत्रीका अनुसार पाँचौं दिन थोराङ फेदी, छैटौं दिन पदमार्गमा विश्वकै अग्लो भञ्ज्याङ मानिएको थोराङला (५ हजार ४ सय १६ मिटर) पास गरेर कागवेनी, सातौं दिन कागवेनी वरपर, आठौं दिन कालोपानी पुगेर प्रतियोगिता सम्पन्न हुनेछ । उनीहरूको बास भने म्याग्दीको तातोपानीमा हुनेछ । प्रतियोगिता अवधिभर साइकल रेसलरले २ सय २० किलोमिटर पार गर्नेछन् ।
यसअघि काठमाडौंको शिवपुरीमा सुरु भएर नुवाकोट, गोरखा हुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने उक्त साइकल रेस १० औं संस्करणयता लमजुङबाट प्रारम्भ हुन थालेको हो । बीबीसी, सीएनएन जस्ता अन्तर्राष्ट्रिय मिडियाले समेत प्रसारण गर्ने यो प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने दाबी गरिन्छ ।

Page 31
मैदान बाहिर

रेफ्रीको सेल्फी मोह

- साप्ताहिक संवाददाता

ब्राजिलियन फुटबल टिमका महान् खेलाडी तथा इजरायलको भेट्रान–११ बीच हालै सम्पन्न मैत्रीपूर्ण खेलमा रेफ्रीले देखाएको अस्वाभाविक प्रतिक्रियाले सर्वत्र चर्चा पाएको छ । इजरायलमा भएको उक्त खेलमा ब्राजिलियन टिमबाट रोनाल्डिन्हो, बोबेटो, काका, काफू, रोबर्टो कार्लोस, रिभाल्डो जस्ता महान खेलाडीहरू सहभागी थिए । उक्त खेलमा ब्राजिल लिजेन्डले इजरायल भेट्रान–११ लाई २ का विरुद्ध ४ गोलले पराजित गर्‍यो ।
इजरायलमा खेल खेल्न सुरक्षित छ भन्ने कुरा देखाउन आयोजित उक्त प्रतिस्पर्धा २८ हजार दर्शकले रंगशालामा बसेर हेरेका थिए । प्रतियोगिताको समयमा काकाले बलसहित विपक्षी खेलाडीलाई लडाएपछि उनलाई रेफ्री लियाच सुलिनले पहेंलो कार्ड देखाएर मैदान बाहिर पठाइन् । काका मैदानबाहिर जाने बेलामा पहेंलो कार्ड देखाउने रेफ्रीले खल्तीबाट मोबाइल फोन झिकेर उनीसँग एउटा सेल्फी पनि खिचिन् । प्रतियोगितालाई केही समय रोकेर खिचिएको मैदान भित्रको यो सेल्फीले अहिले अन्तर्राष्ट्रिय फुटबलमा राम्रै चर्चा पाइरहेको छ ।

मैदान बाहिर

राम बोसको कमाल

- साप्ताहिक संवाददाता

नेपाली खेलकुदमा कुनै न कुनै रूपमा दोहरिएर आइरहने नाम हो— राम श्रेष्ठ । यति भन्दा धेरैलाई यो कसको नाम हो भन्ने लाग्न सक्छ, तर राम बोस भनियो भने त्यो सबैका लागि परिचित नाम नै हो । विशेषतः नेपाली घरेलु फुटबलमा लगभग सबैका लागि परिचित नाम हो, यो । राम थ्री स्टारसँग जोडिएका छन् व्यवस्थापकका रूपमा ।
उनी भारोत्तोलनेदेखि कराँते र तेक्वान्दो जस्ता खेलसँग पनि जोडिन्छन् । हालै मात्र उनी ब्राजिल तथा अमेरिकामा सम्मानित भए र त्यसको कारण थियो, नेपाली खेलकुदमा उनले दिएको योगदान । अमेरिकामा उनले पाए, लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम अनि ब्राजिलमा प्राप्त गरे— एप्रिसियसन एवार्ड ।

मैदान बाहिर

अन्ततः सकेन कुवेतले

- साप्ताहिक संवाददाता

फुटबलमा कति राजनीति हुन्छ, त्यसको राम्रो उदाहरण भयो, नेपाल र कुवेतबीच हुने विश्वकप छनौटको खेल हुने स्थल । खासमा मंसिर ३ गते दशरथ रंगशालामा खेल हुनुपर्ने हो, तर त्यो समयमै तयार नहुने निश्चित भयो । यस्तोमा न्युट्रल भेन्युका रूपमा नेपालले भुटानको थिम्पुस्थित चाङलिथिमाङ रंगशाला रोजेको थियो ।
सुरुमा कुवेतले यसलाई मानेन । भुटान उपयुक्त रोजाइ होइन भनेर धेरै तर्क प्रस्तुत गर्ने प्रयास गर्‍यो । त्यति मात्र नभएर कुवेतले यो खेल अरबकै कुनै देशमा हुनुपर्छ भनेर समेत दाबी गर्‍यो । नेपाल पनि के कम ? नेपालले पनि जिद्दी छाडेन । अन्त्यमा नियम अनुसार खेल भुटानमै हुने भयो । एसियाली फुटबल महासंघ नै उक्त खेल भुटानमा गर्न राजी भयो ।

मैदान बाहिर

तस्करीमा ओलम्पियन

- साप्ताहिक संवाददाता

सन् २०१६ को ओलम्पिक प्रतियोगितामा नेदरल्यान्डका तर्फबाट ४ गुणा ४ सय मिटर रिलेमा सहभागिता जनाएकी धाविका शक्तिवर्द्धक औषधी ओसारपसारको अभियोगमा पक्राउ परेकी छिन् । २७ वर्षीया धाविका माडिया घाफोरलाई जर्मन प्रहरीले जर्मनी र नेदरल्यान्डको सीमा क्षेत्रबाट पक्राउ गरेको हो । उनले चलाएको सवारी साधनको खानतलासी गर्ने क्रममा ५० किलोग्राम इस्टे, २ किलोग्राम क्रिष्टल मेथ तथा करिब १२ हजार युरो फेला परेको थियो । जफत गरिएको सामग्रीहरू खेलाडीहरूले आफ्नो क्षमता अस्वभाविक रूपमा बढाउन प्रयोग गर्ने पदार्थ भएको प्रहरीले जनाएको छ । उनको गिरफ्तारीमा नेदरल्यान्डको एथलेटिक्स एसोसिएसनले आश्चर्य जनाएको छ । प्रहरीको सोधपुछमा क्रिष्टल मेथले कसले उनलाई उक्त सामग्री बोकाएको हो र ती औषधि कुन प्रयोजनलाई ओसारपसार गर्न लागिएको थियो भन्ने विषयमा कुनै कुरा बताएकी छैनन् । यदि यो अभियोग प्रमाणित भए क्रिष्टललाई जर्मन कानुन अनुसार साढे ८ वर्ष जेल सजायका साथै २९ करोड ४१ लाख रुपैयाँ जरिवाना हुनसक्छ ।

मैदान बाहिर

कामदारको मृत्यु

- साप्ताहिक संवाददाता

दक्षिण एसियाली खेलकुदका लागि अहिले दिन रात नभनी दशरथ रंगशालाको पुनर्निर्माणको काम चलिरहेको छ । अहिले सबैको ध्यान दशरथ रंगशालाको निर्माण पूरा हुन्छ कि हुँदैन भन्नेमै छ । त्यसैक्रममा एउटा नमीठो घटना भएको छ, भलै यसको रंगशालाको निर्माणसँग फ्रत्यक्ष सम्बन्ध छैन ।
त्रेन चालकका रूपमा दशरथ रंगशालामा खटिएका इन्द्रलाल श्रेष्ठको मृत्यु भएको छ । हृदयघातका कारण ज्यान गुमाएका श्रेष्ठ पछिल्लो समय लगातार काम गरिरहेका थिए । उनी अत्यधिक धपेडीबाट गुज्रिएका थिए । अस्पताल लाने क्रममा उनको निधन भएको हो । अबका केही दिन दशरथ रंगशालाको चर्चा गर्दा उनको नाम छुट्ने छैन ।

Page 32
जाँदा–जाँदै

शिक्षामा पनि भेदभाव कायमै छ

- साप्ताहिक संवाददाता
तस्बिर : नवराज वाग्ले

प्रतीक्षा पाण्डे र बिनिता श्रेष्ठ इन्जिनियरिङ पढ्दा भोलिन्टियर गर्थे । त्यही बेला उनीहरूले ॅआवर अफ कोड’ भन्ने इभेन्ट चलाएका थिए । त्यसबाट प्राप्त केही रकम उनीहरूले सोसल वर्कमा लगाउने विचार गरे । इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गर्ने क्रममा उनीहरूलाई यो फिल्डमा केटीहरूको उपस्थिति न्यून भएजस्तो लाग्यो । कोडिङ र टेक्नोलोजीमा महिलाहरूको सहभागिता बढाउने उद्देश्यका साथ उनीहरूले स्नातक गरेलगत्तै वुमन इन साइन्स, टेक्नोलोजी इन्जिनियरिङ एन्ड म्याथम्याटिक्स नेपाल (विस्टिम, नेपाल) को स्थापना गरे । जसले महिला एवं बालवालिकाहरूलाई स्कुल तहमै कोडिङका बारेमा पाठ्यक्रम बनाएर कक्षाहरू सञ्चालन गर्ने काम गर्छ । विभिन्न संस्था तथा स्कुलहरूसँग मिलेर कम शुल्कमा कोडिङ सिकाउँदैं आएको विस्टिम अहिले ॅस्टिम फर किड’ नामक प्रोजेक्टमा अघि बढिरहेको छ, जसमा स्कुले बालबालिकाहरूलाई कोडिङ सिकाइन्छ । वुमन र किडसहरू गरेर ५ सयभन्दा बढीलाई कोडिङसम्बन्धी कक्षा दिइसकेको विस्टिमकी संस्थापक २५ वर्षीया प्रतीक्षासँग गरिएको कुराकानी :

 

यस्तो काम गर्ने आइडिया कसरी आयो ?
कलेज अध्ययनका क्रममा म र मेरी पार्टनर बिनिता श्रेष्ठ महिलासम्बन्धी एउटा संस्थामा भोलिन्टियरका रूपमा काम गर्थ्यौं । त्यहाँ काम गर्दा र कलेजमा पनि क्लासमा तीन जना मात्र केटी थियौं । त्यो कुराले टेक्नोलोजी र कोडिङमा महिलाहरूको न्यून उपस्थिति फिल भयो । घरमा पनि सानोमा इन्जिनियरिङ केटीहरूका लागि होइन भनिन्थ्यो । कलेज पढ्दा क्लासमा हामी तीन जना केटीले गर्ने पर्फमेन्स र केटाहरूले गर्ने पर्फमेन्स उस्तै थियो । त्यो कुराले केटीहरूमा अवरनेस जगाउनुपर्छ भनेर हामीले इन्जिनियरिङको फाइनल इयरमै कम्युनिटीमा यो काम गर्न थाल्यौं ।

अहिले के गर्दै हुनुहुन्छ ?
हामी ‘स्टिम फर किड्स’मा केन्द्रित रहेर काम गरिरहेका छौं । यसमा महिलाहरूको सहभागिता एकदमै कम छ । ग्लोबल रूपमै यो क्षेत्रमा महिलाको सक्रियता कम छ । सुरुमा हामीले कलेज गर्ललाई टार्गेट गरेर काम गर्‍यौं, तर कक्षा १० बाटै गणित पढ्ने र नपढ्ने फिल्टर हुने क्रम सुरु हुन्छ, १२ कक्षामा पुग्दा साइन्स पढ्ने केटीहरूको संख्या अझ कम भैसकेको हुन्छ । त्यसभन्दा माथि पुग्दा थप फिल्टर भैसकेको हुन्छ । त्यसैले हामीले स्कुल तहमै गएर उनीहरूलाई मोटिभेट गर्नुपर्छ, स्कुल गर्ल तथा ब्वाइजलाई टार्गेट गरेर स्टिम फर किड्स भन्ने प्रोग्राम गरिरहेका छौं जसमा कोडिङ, गेम डेभलपिङका साथै रोबटिक विषयमा जानकारी दिइरहेका छौं । रोबटिक्स, डिजाइङ, थिंकिङ तीनवटा कन्सेप्टमा पाठ्यक्रम विकास गरेर काम गरिरहेका छौं ।

कोडिङमा महिलाहरू कम हुनुको कारण के हो ?
मैले देखेको रुट कज नै हो । सानै एजदेखि यो केटीहरूका लागि होइन भन्ने मानसिकता विकास गरिनु नै यसको मुख्य कारण हो ।

यो क्षेत्रमा महिला सहभागिता वृद्धि गर्नुपर्ने कारण किन आयो ?
गर्लहरूलाई अर्ली एजमै साइन्स एन्ड टेक्नोलोजी केवल केटाहरूका लागि मात्र हो, केटीले गर्न सक्दैनन् भनिएको हुन्छ । अनुभव नै नगरी उनीहरू यो हाम्रा लागि होइन् भनेर नर्सिङलगायतका अरु फिल्डमा जान्छन् । त्यो फिल नगराउन हामीले काम गरिरहेका हौं । यो जेन्डर बेस होइन् भनेर सिकाउन हामीले ६० प्रतिशत गर्ल तथा ४० प्रतिशत ब्वाइजसँगै बसेर काम गराउँछौं । दुवैले एउटै काम गरिरहेका हुन्छन् । हामीले त्यो मेन्टालिटी हटाउन र यो जेन्डरमा आधारित कुरा होइन्, यो रुचि र क्षमतामा आधारित कुरा हो भनेर स्टिम फर किड्समा पनि काम गरिरहेका छौं ।

इन्जिनियरिङको डिग्री हासिल गरेर जागिर खानुभन्दा यस्तो काममा कसरी आउनुभयो ?
जे गर्दा आफूलाई खुसी मिल्छ, त्यही गर्ने हो । मलाई जब गर्नुभन्दा पनि कसैलाई इन्स्पायर गर्नु छ । मलाई यसैमा राम्रो गर्छु भन्ने विश्वास पनि छ र यही कुराले खुसीसमेत दिन्छ । त्यसैले मैले जागिरभन्दा यो फिल्ड रोजेकी हुँ ।

कोडिङमा महिलाहरूको भविष्य कस्तो देख्नुहुन्छ ?
धेरै राम्रो देख्छु । महिलाले आफूलाई आर्थिक रुपमा सबल, सक्षम तथा आत्मनिर्भर बनाउन कोडिङ राम्रो फिल्ड हो । विश्वव्यापी रुपमै यो डिमान्डेड जब हो । आर्थिक रुपमा महिलाहरूलाई इम्पावर गर्न पनि कोडिङ इज बेस्ट ।

टेक्नोलोजीका हिसाबले विकासशील देशहरू पछाडि छन् । हामी ग्लोबल रूपमा कम्पिट गर्न सक्छौं ?
सबै हिसाबले त ग्लोबल कम्पिट गर्न नसकौंला । टेक्नोलोजी त अमेरिकाले प्रयोग गर्ने पनि उही हो, हामीले प्रयोग गर्ने पनि उही हो । हामीसँग उनीहरूको जस्तो रिसोर्स नहोला, विस्तारै हामीजस्ता युवाहरू अगाडि बढ्दैं गएपछि केही समयमा हामी पनि त्यो काम गर्न सक्छौं ।

परिवारले डाक्टर बनाउन चाहन्थ्यो, तर तपाईंले यो फिल्ड किन रोज्नुभयो ?
मेडिकल मेरा लागि हुँदै होइन । ११ कक्षामा बायोलोजी पढ्दा मलाई एकदमै टफ फिल भयो । १२ कक्षामा पनि मेरो एक्स्ट्रा म्याथमा बढी मार्क आयो । त्यतिबेला नै मलाई मेडिकल फिल्ड मेरो होइन् भन्ने रियलाइज भैसकेको थियो । इन्जिनियरिङमा राम्रो गर्न सक्छु भन्ने लाग्यो, त्यसैले मैले इन्जिनियरिङ रोजें ।

आइटी र कोडिङमा महिलाका लागि के–कस्ता अप्ठ्याराहरू छन् ?
सबैभन्दा ठूलो त डर नै हो । महिला कम आउनु नै पहिलो अप्ठ्यारो हो । अहिले पनि यो क्षेत्र केटीका लागि होइन भन्ने धारणा छ । सबै ठाउँमा होइन्, केही ठाउँमा महिलालाई फरक रुपमा ट्रिट गरिएको पनि पाइन्छ, तर हिम्मतका साथ अघि बढ्ने हो भने अप्ठ्याराहरू छैनन् ।

आगामी योजना के छ ?
अब यसलाई कसरी विस्तार गर्ने र बढीभन्दा बढी मानिस कहाँ, कसरी पुग्ने भन्ने विषयमा सोचिरहेका छौं । हामी थप फन्डका लागि पनि पहल गर्दैछौं । 

जाँदा–जाँदै

लोमन्थाङमा मनाइने पर्वको झझल्को

- साप्ताहिक संवाददाता

उपल्लो मुस्ताङको लोमन्थाङमा मनाइने सांस्कृतिक पर्व तिजीको झझल्को दिने गरी पोखरामा लामा नृत्य प्रस्तुत गरिएको छ । बौद्धमार्गीहरूको फुदो बज्रकिलाया पूजाको अवसर पारी पोखराको याम्दीस्थित पेमा छाल शाक्य गुम्बामा उक्त नृत्य प्रस्तुत गरिएको हो । विशेष गरी हिमालपारिको जिल्ला मुस्ताङको लो सात क्षेत्र लोमन्थाङको सांस्कृतिक पर्व तिजीमा प्रस्तुत गरिने लामा नृत्य यसपटकदेखि शाक्य गुम्बामा प्रदर्शन गर्न थालिएको हो ।
गुम्बाले बज्रकिलाया मण्डला पूजाको अवसर पारी लामा मास्क नृत्य प्रस्तुत गरेको थियो । तिजीभन्दा फरक शैलीको पूजा भए पनि यो पूजामा प्रस्तुत गरिने लामा मास्क नृत्यले तिजीकै झझल्को दिएको हो । सांस्कृतिक पर्यटकहरूलाई याम्दी गुम्बाबाटै मुस्ताङको संस्कृतिका बारेमा जानकारी प्रदान गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने गुम्बाका सल्लाहकार तथा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले बताएका छन् ।