You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
समाचार

हिट्स म्युजिक एवार्डका विजेता

- साप्ताहिक संवाददाता

काठमाडौं— हिट्स म्युजिक एवार्डको २३ औं संस्करणमा विभिन्न १६ विधामा संगीतकर्मीहरूलाई पुरस्कृत गरिएको छ । शनिबार काठमाडौंमा आयोजित उक्त सांगीतिक समारोहमा गायिका ज्ञानु राणालाई लाइफ टाइम एचिभमेन्ट्स एवार्डद्वारा सम्मानित गरियो । गायिका राणा विगत पाँच दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छिन् ।
गीत–संगीत प्रस्तुतिसहितको समारोहमा ‘वन फूल’ गीतले तीनवटा एवार्ड जित्न सफल भयो । उक्त गीतकी गायिका दुर्गा परियारले उत्कृष्ट गायिकाको एवार्ड जितिन् भने यही गीतबाट संगीतकार सुरेश अधिकारी तथा संगीत संयोजक फणीन्द्र राईले पनि आ–आफ्नो विधाको एवार्ड जिते ।
समारोहमा गायक सविन राई तथा उनको समूह फेरोहले पनि तीनवटा एवार्ड जित्न सफल भयो । गायक राईले ‘धन्यवाद’ गीतबाट उत्कृष्ट समूह गायन, उत्कृष्ट रक गायन तथा उत्कृष्ट पप–रक संगीत सिर्जनाको एवार्ड जित्न सफल भयो ।
आधुनिक गायनतर्फ गायक दीपक श्रेष्ठ ‘तिम्रो यादमा’ बाट पुरस्कृत भए भने गायिका बर्तिका एम राई ‘आशा’ गीतबाट उत्कृष्ट ठहरिन् ।
गायक दीपक बज्राचार्यले ‘मन मगन’ गीतबाट सर्वोत्कृष्ट गीतको एवार्ड जिते । सुनिता कार्कीको ‘सुनमाला’ ले उत्कृष्ट गीति–संग्रहको एवार्ड जित्यो । गायक विक्रम बरालले ‘गल्ती’ गीतबाट नवप्रतिभाको एवार्ड जिते । चलचित्रतर्फ ‘गोजीमा दाम छैन’ गीतबाट गायक तथा संगीतकार राजनराज शिवाकोटी उत्कृष्ट भए ।
युगल गायनतर्फ महेश काफ्ले तथा मेलिना राई ‘नाच फिरिरी...’ बाट उत्कृष्ट भए भने पप गायकको एवार्ड गायक शिव परियारले पाए । गायक परियारले ‘मलाई मजस्तै बन्न देऊ’ गीतबाट उक्त एवार्ड जितेका हुन् । पप गायिकाको एवार्ड भने आस्था तामाङले जितिन् । उनले ‘छोडेर नजाऊ’ गीतबाट यो सफलता हासिल गरेकी हुन् ।
उत्कृष्ट लोकगीतको एवार्ड भने ‘सालको पात टपरी हुने’ का लागि कुलेन्द्र विक र विष्णु माझीलाई प्रदान गरियो । समरोहमा सविन राई एन्ड द फेरोह, दुर्गा परियार, सुनिता कार्की तथा वर्तिका एम राईले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए ।

समाचार

पोखरामा सञ्जीव र टीका

- साप्ताहिक संवाददाता

पोखरा– युगल गीत गाएर चर्चामा आएको एउटा गायन जोडीले पोखरामा लाइभ कन्सर्ट दिएको छ । गायक सञ्जीव पराजुली तथा गायिका टीका प्रसाईं प्रस्तुत भएको युगल साँझमा दर्शकहरूको उल्लेख्य सहभागिता रह्यो ।
अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले आयोजना गरेको उक्त कार्यक्रमको प्रारम्भमा सञ्जीव र टीकाले ‘रातो र चन्द्र सूर्य’ गाएका थिए ।
त्यसपछि उनीहरूले आफ्ना लोकप्रिय गीतहरू ‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकी–लुकी’, ‘किन कर्के नजर’सहित एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरे ।
प्रत्यक्ष वाद्यवादनसहितको गायन र पृष्ठभूमिमा प्रस्तुत गरिएको नृत्यले दर्शक रोमाञ्चित भएका थिए ।
समारोहमा ‘किन कर्के नजर...’ गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट हुन सफल नागी डान्स सेन्टर, इटहरीका कलाकारहरूलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

समाचार

रविन र सजना भए मोडल सुपरस्टार

मोरङ— बेलबारी–१, मोरङका रविन घिसिङले ‘मोडल सुपर स्टार’ को उपाधि जितेका छन् । प्रोमोटिङ सोलुसनद्वारा आयोजित प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै घिसिङले उक्त उपाधि जितेका हुन् । महिलाातर्फको ‘मिस मोडल सुपर स्टार’ को उपाधि भने सजना पन्तले जितिन् ।
प्रतियोगितामा युवकतर्फ सुजन बस्नेत तथा युवतीतर्फ आकृति सुवेदीले पपुलर च्वाइसको उपाधि जिते । प्रतियोगिता विजेताले भारतको मुम्बईमा आयोजना हुने मोडल सुपर स्टारमा भाग लिने अवसर पाउने आयोजक प्रोमोटिङ सोलुसनकी प्रमिला सिलवालले बताइन् । उक्त प्रतियोगिता आगामी फेबुअरी १४ मा दिन आयोजना हुँदैछ ।
- नरेन्द्र बस्नेत

समाचार

कल्पनालाई उपाधि

- स्वस्तिक श्रेष्ठ

बुटवल— रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगिताको ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।
चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलकी चेली कल्पना प्रथम भएकी हुन् । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय हुन सफल भए ।
प्रतियोगितामा १७ सहभागीमध्येबाट पहिलो दिनको नृत्यबाट १० जना दोस्रो चरणका लागि छनौट भएका थिए ।

समाचार

लिटिल मास्टर एन्ड मिस ट्यालेन्ट नेपाल

- साप्ताहिक संवाददाता

भक्तपुर– अमिर कला केन्द्रले भक्तपुरमा आयोजना गरेको लिटिल मास्टर एन्ड मिस ट्यालेन्ट नेपाल–२०७६ मा रोहित बाजिको तथा रुजा धोजू विजयी भएका छन् । अघिल्लो साता सम्पन्न प्रतियोगितामा कृजल श्रेष्ठ तथा राज तामाङले मास्टरतर्फको फस्ट रनर्सअप तथा सेकेन्ड रनर्सअपको उपाधि जिते भने मिसतर्फ शियेन्द्रा थापा तथा अञ्जु बलामीले फस्ट रनर्सअप तथा सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भए ।

समाचार

रविन र सजना भए मोडल सुपरस्टार

- नरेन्द्र बस्नेत

मोरङ— बेलबारी–१, मोरङका रविन घिसिङले ‘मोडल सुपर स्टार’ को उपाधि जितेका छन् । प्रोमोटिङ सोलुसनद्वारा आयोजित प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै घिसिङले उक्त उपाधि जितेका हुन् । महिलाातर्फको ‘मिस मोडल सुपर स्टार’ को उपाधि भने सजना पन्तले जितिन् ।
प्रतियोगितामा युवकतर्फ सुजन बस्नेत तथा युवतीतर्फ आकृति सुवेदीले पपुलर च्वाइसको उपाधि जिते । प्रतियोगिता विजेताले भारतको मुम्बईमा आयोजना हुने मोडल सुपर स्टारमा भाग लिने अवसर पाउने आयोजक प्रोमोटिङ सोलुसनकी प्रमिला सिलवालले बताइन् । उक्त प्रतियोगिता आगामी फेबुअरी १४ मा दिन आयोजना हुँदैछ ।

समाचार

धादिङ आइडलका विजेता

- साप्ताहिक संवाददाता

धादिङ— धादिङमा आयोजित मिस एन्ड मिसेस धादिङ आइडल–२०२० प्रतियोगितामा मिसेसतर्फ रेखा गुरुङ तथा मिसतर्फ रोहान्सा श्रेष्ठ विजयी भएका छन् । शीर्ष उपाधिसँगै रेखाले ट्यालेन्ट विधाको एवार्ड पनि जितिन् भने मिसतर्फका विजेता रोहान्सा कन्फिडेन्ट एवार्ड पनि विजेता बनिन् । मिसेसतर्फ शर्मिला श्रेष्ठ फस्ट रनर्सअप तथा पविता तामाङ श्रेष्ठ सेकेन्ड रनर्सअप बन्न सफल भए भने मिसतर्फ भने अमिशा सिलवाल फस्ट रनर्स अप तथा अरुणा तामाङ सेकेन्ड रनर्स अप भए ।

Page 4
नर्सिङ

न जागिर, न सुविधा

देशमा आधा लाख नर्स बेरोजगार, जागिरमा हुनेले पनि उचित तलब पाउँदैनन् ।
- कृष्ण आचार्य
कृष्ण आचार्य

पिसिएल नर्सिङ सिध्याएपछि शर्मिला कठायतले जागिरका लागि थुप्रै अस्पताल धाइन् । अन्तर्वार्ताका लागि जाँदा विज्ञापन गरेर जागिरका लागी आवेदन खुलाएका अस्पतालले समेत केही महिना भोलेन्टियर गर्नुपर्ने बताए । थुप्रै अस्पताल धाउँदासमेत जागिर नपाएपछि उनले तीन महिना भोलेन्टियर गर्नैपर्ने बाध्यता आइपर्‍यो । त्यसपछि मासिक आठ हजार रुपैयाँ पारिश्रमिकमा निजी अस्पतालमा एक वर्ष काम गरिन् । उनका साथीहरू धमाधम विदेश गइरहेका थिए । शर्मिलाले पनि नसोचेकी होइनन् । तर, पारिवारिक समस्याका कारण उनी विदेश जान सकिनन् । बरु उनले तेस्रो पटकमा लोक सेवामा नाम निकालिन र अहिले सरकारी स्वास्थ्य संस्थामा काम गरिरहेकी छन् । ‘अहिले सरकारले तोकेको पारिश्रमिक पाइरहेको भए पनि काम त्यति सहज छैन । एक जना नर्सले धेरै बिरामी हेर्नुपर्छ । कहिलेकाहीँ त एक्लैले ५० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ’ नुवाकोटको दुर्गम क्षेत्रमा काम गरिरहेकी शर्मिला दुखेसो पोख्छिन् ।
नर्सिङ काउन्सिलको पुस अन्तिम सातासम्मको अभिलेखले भन्छ– नेपालमा हाल स्टाफ, अनमी र विदेशी गरेर ९० हजार ९ सय ९ नर्स छन् । १ सय ८९ मुख्य नर्सिङ शैक्षिक संस्थाले आफू मातहतमा २ सय ७४ शैक्षिक संस्था सञ्चालन गरेका छन्, जसबाट बर्सेनि ९ हजारको हाराहारीमा नर्सहरू उत्पादन भइरहेका छन् । तर, यी हजारौं नर्सहरूको रोजगारीको कथा भने अत्यन्त दर्दपूर्ण छन् । सरकारी तथा निजी गरेर देशभरका ८ हजारभन्दा धेरै स्वास्थ्य संस्थामा नर्सहरू काम गर्छन् । निजी अस्पतालमा काम गर्ने अधिकांश नर्सको अवस्था शर्मिलाले सुनाएको कथाजस्तै छ । न्यून पारिश्रमिक, कामको चाप, सेवा–सुविधाको अभावबीच नर्सहरू दिनरात बिरामीको सेवामा कटिबद्ध छन् । लामो समयदेखि पटक–पटक नर्सहरूको दुःख, पीडा र अवस्थाबारे बहस तथा छलफल हुने गरेको भए तापनि अवस्थामा कुनै सुधार आउन सकेको छैन ।



उर्मिला पोखरेल नेपालमा एक वर्ष काम गरेपछि अमेरिका हानिइन् । राजधानीको चर्चित अस्पतालमा काम गर्ने उनको पारिश्रमिक मासिक आठ हजार थियो । पढाइमा लाखौं खर्च गरेर न्यून पारिश्रमिकमा काम गर्नु उनको बाध्यता थियो । त्यसैले उर्मिलाले आफ्नो रुचिको पेशालाई माया मारेर अमेरिकामा एक स्टोरमा काम गरिरहेकी छन् । जसबाट उनले राम्रै आम्दानी गरिरहेकी छन् । पछिल्लो पाँच वर्षमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत करिब तीन सय नर्स राजीनामा दिएर बिदेशिएका छन् । विदेशपछिको तेस्रो गन्तव्यका रूपमा रहेको शिक्षण अस्पतालबाट पनि नर्सहरू विदेश नै पलायन हुन थाल्दासमेत नर्सलाई नेपालमै रोक्न कुनै कदम चालिएको छैन ।
यसरी पढाइ सकेको लामो समयसम्म पनि रोजगारी नपाउने, पाए पनि कम पारिश्रमिकमा काम गर्नुपर्ने, लामो समय भोलेन्टियरका रूपमा काम गर्नुपर्ने, बिरामीको अभद्र व्यवहार र डाक्टरको शोषण सहनुपर्ने नेपाली नर्सको बाध्यता छ । तर, नर्सहरू आफ्नो पीडा खुलेर साट्न चाहँदैनन् । एकातर्फ आफूले काम गरिरहेको संस्थाको विरोध गर्दा जागिर जाने डर छ भने अर्कोतर्फ आफ्नो अवस्थाबारे बोल्दा जागिर नपाउने डर । यसबीच कोही विदेशका लागि प्रयास गरिरहेका छन् त कोही सरकारी सेवामा दरबन्दी खुल्ने आशामा बसिरहेका छन् ।

जागिरेभन्दा बेरोजगार नर्सको संख्या धेरै
नर्सिङ काउन्सिलमा दर्ता भएका नर्सको संख्या ९१ हजार छ । तर, यति नै संख्यामा नेपालमा नर्सहरू भने नरहेको जानकारहरू बताउँछन् । काउन्सिलमा दर्ता भएकामध्ये पाँच हजारको मृत्यु भइसकेको छ । १५ हजारको हाराहारिमा नर्सिङ सेवा र अध्ययनका लागि विदेश जान स्वीकृत लिनेहरू छन् । त्यति नै हाराहारीमा विदेश पलायन हुने नर्सहरू पनि छन् । जो नर्सिङभन्दा अन्य कामका लागि बिदेसिएका छन् । उनीहरूको कुनै तथ्यांक छैन ।
दर्ता भएका पुराना नर्सले ६ वर्षपछि पुनः आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ । यसका लागि निश्चित समय तोकिएको हुन्छ । केही वर्षअघिसम्म सो समयभन्दा पछि दर्ता हुन आउने नर्सहरूको नयाँ प्रक्रियाबाट नाम दर्ता गरिन्थ्यो । हाल भने ‘लेट फी’ तिरेर पुरानै दर्ता नम्बर पाउने व्यवस्था छ । यी कारणले गर्दा काउन्सिलमा दर्ता रहेको भन्दा ३० हजार कम नर्सहरू नेपालमा रहेको अनुमान काउन्सिलकी पूर्वरजिष्टार एवं नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईको छ । काउन्सिलमा दर्ता नभई पढाइका लागि विदेश जाने वा नर्सिङ सेवाभन्दा अन्य कामका लागि जाने नर्सहरूको संख्या छुट्टै छ । यसको कुनै तथ्यांक छैन । समग्रमा अध्ययन र रोजगारीका लागि ३० हजारको हाराहारीमा नर्सहरू विदेशमा रहेको अनुमान सम्बन्धित निकायको छ । तर, यसको कुनै एकिन तथ्यांक छैन ।



यस हिसाबले हाल नेपालमा ६० हजार हाराहारीमा नर्स छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका सरकारी स्वास्थ्य संस्थामा हाल १० हजार नर्स कार्यरत छन् । निजी क्षेत्रमा कार्यरत नर्सहरूको यस्तो कुनै तथ्यांक छैन । विभिन्न निकायले दिएको तथ्यांकलाई आधार मान्ने हो भने सरकारीभन्दा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको संख्या कम छ । त्यो संख्या आठ–नौ हजारको हाराहारीमा रहेको अनुमान नर्सिङ संघको छ । सन् २०१३ को नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमको तथ्यांकअनुसार निजी अस्पतालमा कार्यरत नर्सको संख्या ३ हजार ६ सय थियो । अन्य विविध सेवामा १ हजार नर्स कार्यरत छन् । ८ सय नर्स विदेशबाट नेपालमा आएका छन् ।
यो तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा रहेका नर्समा २० हजार जागिरे छन् । झन्डै ४० हजार नर्स अझै बेरोजगार छन् । पढाइका लागि विदेश जानुअघि नर्सहरूले नर्सिङ काउन्सिलको स्वीकृति लिनुपर्छ । तर, पढाइबाहेक अन्य कामका लागि विदेश जानेहरूले स्वीकृति लिँदैनन् । ‘कामका लागि विदेश जानेहरूले हामीसँग स्वीकृति नलिने हुँदा यति नै संख्यामा नर्सहरू विदेशमा छन् भन्ने एकिन तथ्यांक हामीसँग छैन’ काउन्सिलकी रजिष्टार विन्दा घिमिरे भन्छिन् ।
नेपालमा चार हजारभन्दा बढी निजी र त्यति नै हाराहारीमा सरकारी स्वास्थ्य संस्था छन् । जसमा अझै ३० हजारसम्म नर्स खपत हुने विभिन्न तथ्यांकले देखाएको छ । एकातर्फ स्वास्थ्य संस्थामा नर्सको आवश्यकता दिनप्रतिदिन बढ्दै गइरहेको छ भने अर्कोतर्फ बेरोजगार नर्सहरूको संख्या बढिरहेको छ । नेपालमा अनमी, प्रवीणता प्रमाणपत्र, बिएस्सी (स्नातक), बिएन/बिएनएस (स्नातक), बिएमएस (स्नातक) र स्नातकोत्तर गरेर बर्सेनि ९ हजारको हाराहारीमा नर्स उत्पादन भइरहेका छन् ।

श्रमशोषणमा नर्स
देशभित्र रोजगारी पाएका नर्सहरूको पनि श्रम शोषण भइरहेको छ । धेरै नर्सहरूले तोकिएको न्यूनतम पारिश्रमिकसमेत पाएका छैनन् । नर्सिङ संघकी अध्यक्ष राईका अनुसार नर्सहरूको गुनासो आएपछि एउटा टोली अस्पतालहरूमा निरीक्षणका लागि गएको थियो । निरीक्षणका क्रममा मासिक ५–६ हजार पारिश्रमिकमा काम गर्ने नर्सहरूसमेत भेटिएका थिए । थोरै पारिश्रमिकमा काम गरेका नर्सहरूले न्यूनतम पारिश्रमिक लिएको कागजमा हस्ताक्षर गरेको समेत भेटिएको थियो । गत वर्ष चितवनको ‘कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पताल’ले नर्सहरूलाई मासिक ५ हजार रुपैयाँ तलबमा जागिरमा राखेको खुलासा भएको थियो । सरकारले न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ तोकेकोमा त्यहाँ कार्यरत नर्सहरूलाई भोलेन्टियरको नाममा ५ हजार रुपैयाँमा काम राखिएको प्रमाण फेला परेपछि ठूलै हंगामा भएको थियो । त्यहाँ यसरी ५० जना नर्सले फुल टाइम काम गरिरहेका थिए । बेला–बेला यस्ता समस्याहरू देखिने भए तापनि त्यसको समाधानका लागि सम्बन्धित निकायबाट आश्वासनबाहेक कुनै पहल नभएको संघकी अध्यक्ष राई बताउँछिन् ।



एक चर्चित अस्पतालमा कार्यरत नर्स काजल शर्मा (नाम परिवर्तन) आफू विगत दुई वर्षदेखि १० हजार पारिश्रमिकमा काम गरिरहेको बताउँछिन् । ‘नहुनुभन्दा यही ठीक भनेर काम गरिरहेकी छु’ उनी भन्छिन्, ‘७ लाख रुपैयाँ पढाइ खर्च गरेर न्यून तलबमा काम गर्दा आम्दानी जति खाजा र गाडी भाडामै सकिन्छ । घर भाडा, खाद्यान्नलगायतका लागि परिवारसँग खर्च माग्नु परिरहेको छ ।’
उनले अस्पतालले नाइट ड्युटी गरेको कुनै अतिरिक्त पैसा नदिने गरेको बताइन् । यस्ता नर्सहरूलाई अस्पतालले सम्बन्धित निकाय अनुगमनमा आउँदा न्यूनतम तलब लिइरहेको कुरा बताउन दबाब दिन्छन् । काजल अन्य अस्पतालमा काम गरिरहेका आफ्ना साथीहरूको अवस्थासमेत उस्तै रहेको बताउँछिन् । उनी दुखेसो पोख्छिन्, ‘हामीलाई न दसैं आउँछ, न तिहार नै । रातदिन नभनी बिरामीको सेवामा समर्पित हुनुपर्छ । त्यै पनि न राम्रो पारिश्रमिक छ न हाम्रो पेशाप्रति कसैले सम्मान नै प्रकट गर्छ ।’
सरकारी अस्पतालमा भने पारिश्रमिकको समस्या छैन । सुत्केरी बिदा, अन्य सेवा–सुविधा र एक जना नर्सले धेरै बिरामी हेर्नुपर्ने समस्या छ । नाइट डियुटी भत्तास्वरूप उपलब्ध हुने १ सय ५० रुपैयाँ पनि सबै अस्पतालले दिँदैनन् । साथै, काम गरेर मध्यरातमा घर जाँदा अस्पतालले सवारीसाधनको व्यवस्था गर्दैन । अस्पताल हाताभित्रै पनि उनीहरूमाथि हातपात हुने र ज्यान नै मार्ने खालका धम्की पनि आइरहेका हुन्छन् । यस्तोमा नर्सहरूको सुरक्षाको पनि कुनै ग्यारेन्टी छैन ।
शिक्षण अस्पतालमा पीसीएल गरेका पाँचौं तहका नर्सको मासिक पारिश्रमिक ४० हजार छ । तर, निजी अस्पतालमा सोही तहका नर्सको पारिश्रमिक १० हजारसम्म छ । राजधानीबाहिरका स्वास्थ्य संस्थामा त १० हजार पारिश्रमिक आकाशको फल सरह हुन्छ । दाङको एक अस्पतालमा काम गरेर गतसाल काठमाडौं आएकी एक नर्सका अनुसार उनले दाङमा रहँदा चार हजार तलबमा काम गरेकी थिइन् । काठमाडौं आएपछि उनको तलब १३ हजार रुपैयाँ छ ।

एक नर्सको भागमा ५० बिरामी
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २० जना बिरामीका लागि कम्तीमा चार जना नर्स हुनुपर्छ । आईसीयूमा भने एक बिरामी बराबर एक नर्स चाहिन्छ । तर, नेपालमा एक नर्सले ५० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ । सरकारकै स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७३ अनुसार जनरल कक्षमा प्रति ४ देखि ६ शय्याका लागि एक जना स्टाफ नर्स व्यवस्था हुनुपर्ने उल्लेख छ । तर, यो मापदण्ड सरकारी अस्पतालले नै लागू नगरेको पाइएको छ ।
३ सय ८० शय्या रहेको वीर अस्पतालमा २ सय ७० भन्दा कम नर्सहरूको दरबन्दी छ । सरकारको मापदण्डलाई आधार मान्ने हो भने वीरमा मात्र हालको अवस्थामा ३ सय ५० भन्दा धेरै नर्सको दरबन्दी आवश्यक छ । निजी अस्पतालको अवस्था पनि उस्तै छ । सबै अस्पतालमा एउटै समस्या भने छैन । बालमैत्री अस्पतालमा काम गरिरहेकी नर्स आकृति पौडेल जनरल वार्डमा २० जना बिरामी बराबर तीन जना नर्सहरू हुने गरेको बताउँछिन् । भन्छिन्, ‘कहिलेकाहीँ कोही बिदामा बस्दा कामको प्रेसर हुन्छ । कहिलेकाहीँ दोब्बर डियुटी गर्नुपर्ने हुन्छ, कहिले कामको प्रेसर हुन्छ यस्तोबेला पनि सानो–सानो गल्तीमा गाली खानुपर्दा नरमाइलो लाग्छ ।’
नर्सिङ संघकी अध्यक्ष राईका अनुसार आईसीयूमा एक बिरामी एक नर्स, इमरजेन्सीमा एक बिरामी दुई नर्स र अप्रेसन थिएटरमा एक बिरामी तीन नर्स आवश्यक पर्छ । अर्थात, तीन सिफ्टमा सय बेडको अस्पतालमा ७० नर्स आवश्यक पर्छ । यसको आधारमा हाल देशभर रहेका स्वास्थ्य संस्थामा ७० हजार नर्स खपत हुन्छन् । तर, ७० हजार नर्सको काम २० हजार नर्सले गरिरहेका छन् । भन्छिन्, ‘महामारीमा त अझ एक जना नर्सको भागमा ६० जनासम्म बिरामी पर्छन् । सामान्यतः अस्पतालअनुसार १० देखि ५० जनासम्म बिरामी एक जना नर्सले हेर्नुपर्ने बाध्यता छ ।’

पुरुषको आकर्षण कम
देशको नर्सहरूको दयनीय अवस्थाकाबीच पुरुषले पनि नर्सिङ पढ्ने व्यवस्था भयो । नर्सिङ काउन्सिलले शैक्षिक सत्र २०७५–०७६ देखि लागू हुने गरी नर्सिङ शिक्षामा पुरुषका लागि पीसीएल र बिएस्सीमा १५ प्रतिशत कोटा छुट्यानुपर्ने निर्णय गरेको थियो । नेपालमा आजभन्दा तीन दशक पहिले पनि पुरुषले नर्सिङ शिक्षा पढ्न पाउने व्यवस्था थियो । ०४३–६४ सम्म नर्सिङ पढेका पुरुष नर्सको संख्या ८० थियो । तर, यसमा आकर्षण कम भएपछि पुरुषका लागि नर्सिङ शिक्षामा छुट्याइएको १० प्रतिशत कोटा खटाइएको थियो । जसलाई पुनः लागू गरिएको हो ।
तर, १५ प्रतिशत कोटा छुट्याएर पुनः जगाइएको नर्सिङमा पुरुषको सहभागिताप्रति त्यति आकर्षण देखिएको छैन । सुरुको शैक्षिक सत्रमा देशभर ६० जना पुरुष नर्सिङ अध्ययनका लागि भर्ना भएको तथ्यांक नर्सिङ संघसँग छ । कुनै कलेजमा एक जना त कुनैमा ५ जना र कुनैमा शून्य संख्यासमेत छ । पुरुषको कोटा पूरा नहुँदा त्यसमा महिलाहरूले नै नर्सिङ पढिरहेका छन् ।
तानसेन स्कुल अफ हेल्थ साइन्समा ५ जना, जनकपुर नर्सिङ क्याम्पसमा ४ जना, शंकरापुर एकेडेमी काठमाडौं र गौर नर्सिङ कलेजमा तीन–तीन जना पुरुषले नर्सिङ शिक्षा लिइरहेका छन् । काठमाडौंको नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र होली भिजन टेक्निकल क्याम्पसमा १ जनाले नर्सिङ पढिरहेका छन् । यो शैक्षिक सत्रमा भने भर्ना प्रक्रिया चलिरहेकाले नर्सिङ पढ्नेहरूको संख्या एकिन भइसकेको छैन । तर, भर्नाका लागि पुरुषहरूको आकर्षण त्यति धेरै नदेखिएको केही क्याम्पसले जानकारी दिए ।

एक विद्यालय, एक नर्स
सरकारले गत वर्ष ‘एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि–२०७५’ ल्याएको थियो । बालबालिकाको नियमित स्वास्थ्य जाँच र उनीहरूलाई विद्यालय आउन प्रेरित गर्नका लागि यो व्यवस्था अघि सारेको थियो । यो कार्यक्रम लागू भएमा देशमा रहेको बेरोजगार नर्सको संख्या अन्त्य हुने अपेक्षा धेरैले गरेका थिए । तर, एक वर्षमा यसको प्रभावकारिता खासै देखिएको छैन । देशभरका केही विद्यालयमा भने कार्यक्रम लागू भएको छ ।
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार देशभर ३५ हजार पाँच सयभन्दा धेरै विद्यालय छन् । जसमध्ये तीन सय विद्यालयमा यो कार्यक्रम लागू भएको मन्त्रालयको दाबी छ । प्रदेश १ र ३ का विद्यालयमा यो कार्यक्रम लागू भएको छ । प्रदेश एकका १ सय ५४ वटा र प्रदेश ३ का १ सय २१ वटा विद्यालयमा यो कार्यक्रम लागू भएको शिक्षा मन्त्रालय बताउँछ । सरकारले यो कार्यक्रमका लागि ३ करोड ४६ लाख छुट्याएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ‘स्वास्थ्य तथा नर्सिङ सेवा सञ्चालन कार्यविधि–२०७६’ समेत तयार पारिसकेको छ । महाशाखाकी प्रमुख रोशनी तुईतुईले साप्ताहिकसँग भनिन्, ‘कुनै पनि नयाँ व्यवस्था आउँदा सबैतिर एकै पटक लागू हुन्छ वा हुनुपर्छ भन्ने छैन । स्थानीय सरकार बनेको छ । स्थानीय तहका विद्यालयहरू त्यही मातहत छन् । त्यसैले बजेटको व्यवस्था गर्दै नर्सहरू राख्ने व्यवस्था विस्तारै सबैतिर लागू हुँदै जान्छ ।’

Page 5
Page 6
Page 7
नर्सिङ

थोरै पारिश्रमिक दिएर धेरैको कागज गराउँछन्

- साप्ताहिक संवाददाता
मनकुमारी राई, अध्यक्ष, नेपाल नर्सिङ संघ , तस्बिर : नवराज वाग्ले

एकातर्फ नर्सहरू बेरोजगार छन् अर्कोतर्फ स्वास्थ्य संस्थाहरूमा नर्सहरूको अभाव उत्तिकै छ । यस्तो किन भइरहेको छ ?
अस्पतालहरूमा रहेको बेडको संख्याको आधारमा दरबन्दी राख्नुपर्ने हो । बेड संख्याको आधारमा दरबन्दी छैन । जसले गर्दा नर्स–पेसेन्ट रेसियो मिलेको छैन । एक जना नर्सले तीन जनासम्म बिरामी हेर्नुपर्नेमा ५० जनासम्म हेर्नुपर्ने बाध्यता छ । यसले गर्दा एकातर्फ नर्सको कामको चाप बढेको छ भने अर्कोतर्फ उत्पादित नर्स बेरोजगार हुने अवस्था सिर्जना भएको छ । कुन खालको अस्पतालमा कति जना नर्स चाहिने हो, एउटा नर्सले कति जना बिरामीको सेवा गर्ने हो भन्ने विषयमा बनेका नीति–नियम जोडतोडका साथ कार्यान्वयनमा ल्याउनुपर्छ । यी सबै कुरा आर्थिक पक्षसँग नै जोडिन्छन् । सरकारले बजेटको अभावमा र निजी स्वास्थ्य संस्थाले धेरै आम्दानी गर्ने लोभमा कम नर्सहरूबाटै काम चलाइरहेका छन् ।

नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षामा पास हुने नर्सहरूको संख्या अत्यन्त न्यून छ । पछिल्लो समय ५२ प्रतिशत नर्समात्र पास भएका थिए ।
किन होला ?
यो गुणस्तरीयतामा भरपर्ने कुरा हो । विद्यार्थीले हासिल गरेको व्यावहारिक ज्ञान, पढाउने शिक्षकहरूको मार्गनिर्देशन, धेरै कलेजहरू तर प्रयोगात्मक शिक्षाका लागि उपलब्ध हुने थोरै स्थान आदिका कारण विद्यार्थीको गुणस्तर कम भएको हुनसक्छ । प्रश्नहरू प्रयोगात्मक शिक्षामा आधारित हुन्छन् । उदाहरणका लागि, सुई लगाउँदा के–कस्ता कुरामा ध्यान दिने भन्ने विषय पहिला सैद्धान्तिक रूपमा विद्यार्थीलाई पढाइन्छ र त्यस कुरालाई व्यावहारिक रूपमा पनि सिकाइन्छ । प्रश्न यसकै आधारमा बनाउने हो । विद्यार्थीले सैद्धान्तिक ज्ञान कत्तिको लियो र त्यसलाई व्यवहारमा उतार्न सक्यो कि सकेन भन्ने विषय यससँग जोडिन्छ भन्ने मलाई लाग्छ ।

वर्तमान अवस्थामा नर्सिङ क्षेत्रमा देखिएका मुख्य समस्याहरू के–के हुन् ?
सबैभन्दा महत्वपूर्ण त नर्सहरूको पारिश्रमिक नै हो । निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् । धेरै नर्सहरूको गुनासोहरू पनि आएका छन् । पाँच हजारसम्म पारिश्रमिक लिएर काम गरिरहेको अवस्थाबारे पनि सुनिएको छ । नर्सहरूबाट कम्प्लेन आएर नर्सिङ संघको टोली भिजिटमा जाँदा धेरै रकम लिएको कागजमा सही गरेको तर त्योभन्दा धेरै कम पाएको अवस्था पनि भेटिएको थियो । अर्को समस्या भनेको बेरोजगारी हो । सरकारले आवश्यकताअनुसार दरबन्दी नखुलाउँदा यो समस्या बढेको देखिन्छ । नर्सहरू विदेश पलायन हुने समस्या अहिलेको अवस्थामा विकराल बनेको छ । बिएस्सी, बिएन/बिएनएसका विद्यार्थीहरू विदेश नै जानका लागि पढिरहेका छन् । नर्सहरूको विदेशप्रतिको मोह र देशमा अवसरको कमीका कारण भविष्यमा हामीसामु ठूलै चुनौती आउने हो कि भन्ने प्रश्न पनि खडा भएको छ ।

कहिले नर्सहरूले आत्मदाह गर्ने चेतावनी दिनुपर्ने त कहिले आमरण अनशनमा बस्नुपर्ने बाध्यता छ । यसको मुख्य कारण के होला ?
सामान्य रूपमा हेर्दा यो विरोधको एउटा शैली हो । तर, विरोध त्यत्तिकै गरिएको भने होइन । नर्सहरूले नैतिकताको लडाइँ लडेर हारिसकेपछि यस्तो समस्या आएको हो भन्ने मलाई लाग्छ । नर्सहरूसँग सम्बन्धित निकायहरू शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालयले नर्सहरूको सवालमा देखिएका समस्याहरूको गहिरो अध्ययन गरेर त्यसको समाधानका लागि पहल गर्ने हो भने यस्तो अवस्था आउने थिएन । कहिलेकाहीँ समस्या गहिरिँदै जाने तर समस्या राख्ने व्यक्ति र समाधान गर्ने व्यक्ति दुवै बीचमा समझदारी हुन नसक्दा पनि यस्तो अवस्था आउँछ । समस्याको सम्बोधन गरेर तत्कालै समाधानको बाटोमा जाने हो भने यस्तो समस्या आउँदैन भन्ने मलाई लाग्छ ।

मेडिकल कलेजका विद्यार्थीले शुल्कको विषयलाई लिएर पटक–पटक आन्दोलन गर्दे आइरहेका छन् नि ?
यसै कात्तिकमा शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले संयुक्त विज्ञप्ति निकालेर शुल्क निर्धारण गरेको छ । तर, विद्यार्थीहरूले बढी शुल्क लिएको कुरा पटक–पटक उठी नै रहेको छ । मेडिकल कलेजहरूपिच्छे एउटै विषयमा लिइने शुल्क पनि फरक–फरक छ । यसमा एकरूपता हुन आवश्यक छ । अर्को कुरा आफ्नै अस्पताल भएका मेडिकल कलेज र नभएका मेडिकल कलेजले लिने शुल्क एउटै छ । अस्पताल हुनेहरूलाई त आर्थिक भार कम पर्छ नि । यो विषयलाई सम्बन्धित निकायहरूबीच समझदारी कायम गर्ने र सरकारले निर्धारण गरेको शुल्कको आधारमा मेडिकल कलेजहरू सञ्चालित छन् वा छैनन् भन्नेबारे निरीक्षण गरेर नियमभन्दा बाहिर जानेलाई कारबाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।

डाक्टरहरूबाट नर्स यौन शोषणमा परेका घटनाहरू बाहिर आउँदा–आउँदै पनि दबाइन्छन् । नर्सहरू शोषणका विषयमा खुल्न किन चाहँदैनन् ?
यस्तो शोषण सधैं हुने कुरा होइन । कहिलेकाहीँ हुन्छ । शोषण हरेक क्षेत्रमा हुन्छ । सबै डाक्टर एउटै हुँदैनन् । कहिलेकाहीँ डाक्टरबाट गल्ती भइहाले पनि नर्सहरू खुलेर आवाज उठाउँदैनन् । सबेसम्म नर्सहरू आफू नै सुरक्षित हुनुपर्छ । यति हुँदाहुँदै यदि कसैले शोषण गरेको छ भने त्यसविरुद्ध आवाज उठाउनुपर्छ । मिडियामा या बाहिर कुरा ल्याउन गाह्रो भएको खण्डमा साथीहरू, आफूभन्दा सिनियरहरूसँग सेयर गर्दा पनि हुन्छ ।

Page 8
प्रविधि

विश्वका टप आईटी कम्पनीका सीईओहरू

- साप्ताहिक संवाददाता

२१ औं शताब्दीलाई सूचना तथा प्रविधिको युगका रूपमा बुझिन्छ । जसलाई यो रूपमा बुझाउन सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्ने आइटी कम्पनीहरूले मुख्य भूमिका खेल्नुका साथै अतुलनीय योगदान दिएका छन् । आज संसारलाई ग्लोबल भिलेजका रूपमा प्रस्तुत गर्न यिनै आइटी कम्पनीहरूकै हात छ, जसलाई हाक्ने काम कम्पनीको सीईओहरूबाट हुन्छ । विश्वभर छाइरहेका आइटी कम्पनीका सीईओहरू कस्ता छन् त ? जानौ विश्वका टप आइटी कम्पनीका सीईओहरूका बारेमा :

सुन्दर पिचाइ (गुगल)
सुन्दर पिचाइ विश्वका प्रभावशाली आईटी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमध्ये एक हुन । ४७ वर्षीय पिचाइ सन् १९७२ मा भारतको तमिलनाडुमा जन्मिएका थिए । एमबीए सम्मको अध्ययन गरेका पिचाइ एक आईटी इन्जिनियर हुन् । सन् २००४ मा व्यवस्थापन कार्यकारी प्रमुखका रूपमा गुगलमा प्रवेश गरेका पिचाइ गुगलको प्रोडक्ट चिफ हुँदै सन् २०१५ मा गुगलको प्रमुख कार्यकारी अधिकृत बन्न सफल भए । पिचाइले गुगललाई माथि उठाउनका लागि कम्पनीको व्यवस्थापनका लागि परामर्शसम्बन्धी काम गरे । उनले गुगलको गुगल क्रोम, गुगल ड्राइभ, जिमेल तथा गुगल नक्सा क्रोम ओएसलगायत अन्य सफ्टवेयर उत्पादनका लागि मुख्य भूमिका खेलेका छन् । उनी सन् २०१९ को डिसेम्बरमा गुगलको अर्को कम्पनी अल्फाबेटको प्रमुख बने । अल्फाबेटको पनि प्रमुख बनेसँगै पिचाइको वार्षिक तलबमा २ मिलियन अमेरिकी डलर वृद्धि भएको छ । योसँगै हाल पिचाइको यी दुई कम्पनीको तलब जोडेर २ सय ४२ मिलियन अमेरिकी डलर पुगेको छ ।

मार्क जुकरबर्ग (फेसबुक)
जुकरबर्गले बनाएको फेसबुक सामाजिक सञ्जालको सबैभन्दा ठूलो कम्पनी हो । उनले १९ वर्षको उमेरमा सन् २००४ मा हार्वर्ड विश्वविद्यालयमा अध्ययनको क्रममा बनाएको फेसबुक एप्लिकेसन अहिले सामाजिक मिडिया प्लेटफर्मको रूपमा चिनिन्छ । ३५ वर्षीय यी अर्बपति सन् १९८४ मे १४ मा अमेरिकाको न्युयोर्कमा जन्मिएका थिए । जकरबर्गले सन् २०१२ मा आफ्नो बहुमत सेयरका साथ फेसबुकलाई नै कम्पनीका रूपमा सार्वजनिक गरेका थिए । फेसबुकका कारणले नै उनले २३ वर्षको उमेरमा नै विश्वको सबैभन्दा कान्छो अर्बपतिका रूपमा परिचयसमेत बनाएका थिए । अहिले संसारभर यसको प्रयोगकर्ता ५ अर्ब छन् । त्यस्तै सामाजिक सञ्जालका एप इन्टाग्राम र ह्वाट्स एप पनि फेसबुकको स्वामित्वमा छन् । सन् २०१९ को डिसेम्बर महिनामा गरिएको अनुमानअनुसार उनीसँग हाल ७४ बिलियन अमेरिकी डलरबराबरको सम्पति छ । यो सम्पत्तिसँगै उनी अहिले विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा ४ औं स्थानमा छन् ।

सत्य नाडेला (माइक्रोसफ्ट)
नाडेला चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी भारतीय अमेरिकी व्यापारिक कार्यकारी हुन् । नाडेला सन् १९६७ मा भारतको हैदराबादमा जन्मिएका थिए । नाडेला सन् २०१४ मा माइक्रोसफ्टको सीईओमा नियुक्त भएका थिए । त्यसबेलादेखि उनले कम्पनीको स्टक १ सय ८२ प्रतिशतले बढाएका छन् । माइक्रोसफ्टको मुख्य कार्यकारी अधिकृत हुनुपूर्व उनी माइक्रोसफ्टको क्लाउड एन्ड इन्टरप्राइज समूहमा कार्यकारी उपाध्यक्षका रूपमा काम गर्थे । उनी सन् १९९२ मा यसको टेक्नोलोजी स्टाफका रूपमा प्रवेश गरेका थिए । माइक्रोसफ्टका यी सीईओले आर्थिक वर्ष २०१९ मा ४२ दशमलव ९ अमेरिकी मिलियन डलर रुपैयाँ आम्दानी गरेका थिए । ५२ वर्षीय नाडेलासँग अहिले २ सय मिलियन अमेरिकी डलर सम्पत्ति छ । उनी वार्षिक ४० मिलियन अमेरिकी डलर तलब रहेको छ ।

ली कुन ही (सामसङ)
ली कुन ही दक्षिण कोरियाली व्यापारी तथा सामसङ ग्रुपको अध्यक्ष हुन् । उनी सामसङका संस्थापक ली ब्युङ चुलका तेस्रो छोरा हुन् । अहिले ७८ वर्षमा हिँडिरहेका कुन ही २६ वर्षको उमेरमा सामसङको अध्यक्षको जिम्मेवारीका साथ प्रवेश गरेका थिए । लीले आफ्नो मार्गनिर्देशनमा यो कम्पनीलाई प्रमुख अन्तर्राष्ट्रिय क्षमता भएको आईटी कम्पनी तथा विश्वव्यापी रूपमा प्रख्यात ब्रान्ड भएको कम्पनीको रूपमा रूपान्तरण गरेका छन् । एन्ड्रोइड फोनहरूमध्ये अग्रणी कम्पनीका रूपमा रहेको यो कम्पनीमा विश्वभर ३ लाख ८ हजार ७ सय ४५ जना कामदार छन् । सामसङ कम्पनीले स्मार्टफोनसँगै अन्य इलोक्ट्रोनिक्स सामानहरू पनि निर्माण गर्दै आएको यो कम्पनीका अध्यक्षसँग फोब्स पत्रिकामा ली कोरियाको सबैभन्दा धनी व्यक्तिको रूपमा छन् भने विश्वभर सर्वाधिक धनी व्यक्तिहरूमध्ये ६५ औं स्थानमा छन् । त्यस्तै ली सन् २०१७ मा टेक्नोलोजी कम्पनीहरूका सञ्चालकहरूमध्ये विश्वभर गरिएको सर्भेमा १४ औं स्थानमा परेका थिए । स्नातकसम्म मात्र अध्ययन गरेको यी अर्बपतिसँग २० दशमलव ६ बिलियन अमेरिकी डलर सम्पत्ति छ ।

जेफ बेजोस (अमेजोन डटकम)
जेफ बेजोस अमेरिकी प्रविधि उद्यमी तथा ई–कमर्स अमेजोन डटकमका संस्थापक हुन् । यो अनलाइनबाट सपिङ गर्न मिल्ने कम्पनी हो । बेजोसले सुरुमा आफ्नो ग्यारेजबाट अनलाइन पुस्तकहरू बेचेर यो कामको थालनी गरेका थिए । यो कार्यले सफलता पाएसँगै बिस्तारै उनले आफ्नो अनलाइन पोर्टलमा कपडा, सिडी, खेलौना, गहना, घडीहरू, इलोक्ट्रोनिक्स समानहरू, जुत्तालगायत अन्य सामानहरू समावेश गर्दै गए । समय र प्रविधिसँगै आफ्ना सेवाहरूमा विस्तार गर्दै गएका कारण आज अमेजोन डटकम विश्वको नम्बर वान अनलाइन सपिङ पोर्टल बनेको छ । हाल ५६ वर्षमा हिँडिरहेका यी अर्बपतिसँग १ सय १६ बिलियन अमेरिकी डलरबराबरको सम्पत्ति भएको अनुमान गरिन्छ । बेजोस फोर्ब्स पत्रिकाको सम्पत्ति सूचकांकमा पहिलो सेन्टी अर्बपतिका रूपमा परिचित छन् । बेजोसको सन् २०१८ मा कुल सम्पत्ति १ सय ५० बिलियन अमेरिकी डलर पुगेपछि उनी इतिहासको धनी मानिसका रूपमा पनि चिनिन्छन् ।

माइकल डेल (डेल)
माइकल डेल एक अमेरिकी अर्बपति व्यवसायी हुन् । उनी डेल टेक्नोलोजीहरूको संस्थापक तथा सीईओसमेत हुन् । उनले १९ वर्षको उमेरमा सन् १९८४ यसको सुरुवात गरेका थिए । डेल एक अमेरिकी बहुराष्ट्रिय कम्प्युटर टेक्नोलोजी कम्पनी हो, जसले कम्प्युटर र यो सम्बन्धित उत्पादनहरू, सेवाहरूको विकास, बिक्री, मर्मत गर्ने काम गर्छ । यो कम्पनी विश्वको सबैभन्दा ठूला प्राविधिक कर्पोरेसनहरूमध्ये एक ठूलो कम्पनी हो । माइकल डेलको यो कम्पनीमा संयुक्त राज्य अमेरिका तथा विश्वभर गरेर १ लाख ४५ हजारभन्दा बढी मानिस कार्यरत छन् । अक्टोबर २०१९ मा फोर्ब्सले डेललाई ३१ बिलियन अमेरिकी डलर बराबरको सम्पत्तिसहित विश्वको २७ औं धनी व्यक्तिको सूचीमा राखेको थियो । ५४ वर्षीय डेलको यो कम्पनी मुख्यत व्यक्तिगत कम्प्युटरहरू, सर्भरहरू, डाटा भण्डारण उपकरणहरू, नेटवर्क स्विचहरू, सफ्टवेयर, कम्प्युटर उपकरणहरू तथा प्रिन्टरहरूका लागि प्रख्यात छ ।


डेनियल झाङ (अलिबाबा ग्रुप)
डेनियल झाङ अलिबाबा ग्रुपका सीईओ हुन् । झाङ सन् २०१९ को सेप्टेम्बर महिनादेखि प्रमुख कार्यकारी अधिकृतका रूपमा अलिबाबा ग्रुपमा कार्यरत छन् । सीईओ हुनुअघि उनी अलिबाबाको स्वामित्वमा रहेका झाङ ताओबाओ र टमल्ल संस्थामा अध्यक्षका रूपमा काम गर्थे । झाङले सन् २००७ मा पहिलो पटक अलिबाबाको सहायक कम्पनी ताओबाओमा मुख्य वित्तीय अधिकृतको रूपमा प्रवेश गरेका थिए । सन् २०११ मा उनी यसको प्रमुख अपरेटिङ अफिसर भए । सन् २०१३ मा पदोन्नति हुँदै उनी अलिबाबा समूहको चिफ अपरेटिङ अफिसरमा भए भने सन् २०१९ मा अलिबाबाको प्रमुख कार्यकारी अधिकृत बन्न सफल भए । झाङ अमेरिका र चीनबीचको व्यापार युद्ध र चिनियाँ ई–कमर्स उद्योगको मन्दीको चुनौतीलाई सामना गर्न सक्ने सीईओका रूपमा परिचित छन् । ४८ वर्षीय यी अर्बपति सन् १९७२ मा चीनको साङघाईमा जन्मिएका थिए ।

टिम कुक (एप्पल)
कुक चर्चित कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत हुन् । ५९ वर्षीय कुक एक इन्जिनियर हुन् । एप्पलका पूर्वप्रमुख स्टिभ जब्सको मृत्युपश्चात् उनले सन् २०११ को अगस्टदेखि एप्पलको मुख्य कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएका छन् । कुकले एप्पलको खस्किँदो बजारलाई माथि उकास्नका लागि मुख्य भूमिका खेलेका छन् । विशेष गरी उनको कन्सेप्टअनुसार बनेका ठूला आकारका फोनहरू आइफोन ६, आइफोन ६ प्लस, फिटनेस र स्वास्थ्य अवस्थाबारे थाहा पाउन बनाएको एप्पल वाच तथा अन्य आइफोनका नयाँ सिरिजहरू बजारमा लोकप्रिय बनेका छन् । कुक सन् २०११ मा फोर्ब्स पत्रिकामा विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक भनेर घोषितसमेत भएका थिए । त्यस्तै सन् २०१२ मा द न्युयोर्क टाइम्सको एक लेखमा सबैभन्दा बढी तलब हुने सीईओका रूपमा समेत उनको चर्चा गरिएको थियो । गत वर्षको तुलनामा यो वर्ष एप्पलको बजार राम्रो नभएका कारण यो वर्ष कुकको आम्दानी खस्केको छ । उनले यो वर्ष १ सय २५ मिलियन अमेरिकी डलर बुझेका छन् ।

गिन्नी रोमेटी (आईबीएम)
इन्टरनेसनल बिजनेस मेसिन (आईबीएम) को प्रमुख कार्यकारी अधिकृत हुन् गिन्नी रोमेटी । रोमेटी एक संसारभर एक प्रतिभाशाली महिलाका साथै चर्चित सीईओका रूपमा प्रख्यात छिन् । उनीले आईबीएममा सन् १९८१ मा सिस्टम इन्जिनिएरका रुपमा प्रवेश गरेकी थिइन् । उनी सन् २०१२ को जनवरीमा सीईओ बनिन् । सीईओ बनेपछि उनले आईबीएमलाई परिवर्तन गर्दै यसको उद्यम शक्ति क्लाउड प्लेटफर्ममा वितरित एआई, ब्लाकचेन, साइबर सुरक्षा र क्वान्टम टेक्नोलोजीमा विकास गरिन् । आईबीएमले कम्प्युटर हार्डवेयर, मिडवेयर र सफ्टवेयर उत्पादन गरी बिक्री गर्ने काम गर्छ । यसले मुख्य फ्रेम कम्प्युटरदेखि नानो टेक्नोलजीसम्मका क्षेत्रहरूमा होस्टिङ र परामर्श सेवाहरू प्रदान गर्छ । आईबीएम एक प्रमुख अनुसन्धान संगठन हो जसले आईबीएमका आविष्कारहरूमा स्वचालित टेलर मेसिन (एटीएम), फ्लिपी डिस्क, हार्ड डिस्क ड्राइभ, यूपीसी, बारकोडलाई गतिशील बनाउने काम गर्छ । ६२ वर्षीया यी महिलासँग ९० मिलियन अमेरिकी डलर सम्पत्ति छ । सन् २०१९ मा उनको ३३ मिलियन अमेरिकी डलर तलब थियो ।

ल्यारी एलिसन (ओराकल)
ल्यारी एलिसन लरेन्स अमेरिकी व्यापारी, उद्यमी तथा समाजसेवी हुन् । उनी ओराकल कर्पोरेसनको कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकृत हुन् । ओराकल कर्पोरेसन एक अमेरिकी बहुराष्ट्रिय कम्प्युटर टेक्नोलोजी कर्पोरेसन हो । यो कम्पनीले डाटाबेस सफ्टवेयर टेक्नोलोजी, क्लाउड इन्जिनियर गरिएको प्रणाली, तथा उद्यमका लागि सफ्टवेयर निर्माण गरेर बेच्ने काम गर्छ । ओराकलले विशेष गरी आफ्नै ब्रान्डका डाटा प्रणालीलाई प्रबन्ध गरेर बिक्री गर्ने काम गर्छ । राजस्व तथा बजार पुँजीकरणका काम गर्ने यो विश्वकै दोस्रो ठूलो सफ्टवेयर कम्पनी हो । एलिसनलाई फोर्ब्स पत्रिकाले सन् २०१९ मा संयुक्त राज्य अमेरिकाको चौथो धनी व्यक्तिको रूपमा र विश्वभर छैटौं धनीका रूपमा सूचीबद्ध गरेको थियो । ७५ वर्षीय एलिसनसँग हाल ६९ दशमलव १ बिलियन सम्पत्ति छ । सन् २०१८ मा ५४ दशमलव ४ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको ल्यारीको कम्पनीले राम्रो नाफा गरेपछि १ वर्षमा नै १५ बिलियन रूपैयाँ बढेपछि उनको कुल सम्पत्ति ६९ दशमलव १ बिलियन अमेरिकी डलर पुगेको हो ।

Page 9
Page 10
Page 11
केवल एक प्रश्न

सामाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक लागू भयो भने के होला ?

- साप्ताहिक संवाददाता

सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने भन्दा पनि कुनै न कुनै रूपमा नियमन गर्नु राज्यको अधिकारभित्र पर्छ होला, तर यदि नियन्त्रण नै गर्ने शैलीको विधेयक आउँछ अथवा बन्देज नै गर्ने किसिमले विधेयक आउँछ भने त्यो जनताको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हुन सक्दैन भन्ने लाग्छ । हामीले पनि अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरिरहँदा राज्यको नीति–नियमसँग नबाझ्ने गरी, अरूको अभिव्यक्ति स्वतन्त्रतालाई हनन नगर्ने गरी हाम्रो अभिव्यक्ति स्वतन्त्रतालाई उपभोग गर्नुपर्छ । यदि राज्यले नियन्त्रण गर्न विधेयक ल्याएको हो भने त्यो जनताको पक्षमा हुँदैन ।
केपी पाठक, चलचित्रकर्मी

नागरिकले अहिले बोल्ने, लेख्ने र प्रतिक्रिया जनाउने माध्यम भनेकै सामाजिक सञ्जाल मात्रै हो । त्यसैले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने विधेयक लागू हुनु भनेको नागरिकको बोल्ने र लेख्ने अधिकारमाथि नियन्त्रण गर्नु हो । यसमाथि नियन्त्रण गर्नेबित्तिकै देशका ९० प्रतिशत भ्रष्ट नेता, कार्यकर्ता, उद्योगपति, कालाबजारियाहरूले खुलेआम काम गर्न पाउँछन् । त्यसले देशमा भ्रष्टाचार अझ बढ्छ । कुनै पनि गलत कार्यको नागरिकले विरोध गर्ने फोरम नै रहनेछैन । चेतना फैलाउने त्यो फोरम नै नरहेपछि यो देश स्वतः भ्रष्ट र कालाबजारियाहरूको हातमा जान्छ । उनीहरूको दुःस्वप्न साकार हुन्छ । त्यसैका लागि सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने विधेयक ल्याइएको हो ।
सञ्जय श्रेष्ठ, गायक

सामाजिक सञ्जाललाई नियन्त्रण गर्नु भनेको देशलाई २०४६ सालअगाडि फर्काउनु हो ।
सुचित्रा श्रेष्ठ, निर्देशक

सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने विधेयक लागू गर्नु राम्रो हो, तर त्यस्तालाई हुनुपर्‍यो जसले बिनाप्रमाण कुनै व्यक्ति वा समाजमा भाषा, संस्कृति तथा जातीय द्वन्द्व निम्त्याउँछ, न कि कसैले आफ्नो स्वतन्त्र विचार राख्नेमाथि लागू होस् ।
रबिन महर्जन, गायक

सामाजिक सञ्जाल नियन्त्रण होइन, व्यवस्थित गर्नु उपयुक्त देखिन्छ, किनभने सामाजिक सञ्जालको माध्यमबाट आज विश्व एउटा मानिसको पकेटमा सीमित भएको छ । यसलाई नियन्त्रण गर्न खोजे हाम्रो समाज धेरै कुराबाट पछि पर्न सक्छ । विकृति–विसंगति भनेको हरेक क्षेत्रमा हुन्छन्, त्यसलाई व्यवस्थित गर्ने उपायहरूको खोजी गर्दा उपयुक्त देखिन्छ ।
कृष्णदेव रूपाखेती, टेलिभिजनकर्मी

आमनागरिकको स्वतन्त्रता अर्थात् अभिव्यक्तिको अधिकार कुण्ठित हुनेछ ।
भीम लिम्बू, गायक

यो कुरा केही हदसम्म त ठीकै हो, तर जहाँसम्म जरिवाना तिराउने कुरा छ, त्यसले गर्दा यसको उद्देश्य त्यति उत्कृष्ट देखिँदैन । जरिवाना तिर्न लायक हामी छैनौं, किनकि प्रत्येक बोलीको ५–१० लाख रुपैयाँ तिर्न सक्ने हाम्रो हैसियत छैन । यसका कारण निरंकुशता छाउँछ । कसैसँग ठट्टा गर्न पाइँदैन । यो राम्रो नियतले होइन, नेताहरू आफू धनी बन्नका लागि लागू गर्न लागिएको पो हो कि ? त्यसैले जनप्रेमी विधेयक होइन । म यसलाई सकेसम्म लागू गर्न दिनु हुन्न भन्न चाहन्छु ।
दीपेन्द्र केसी, निर्देशक

हामीले स्वतन्त्रतालाई अलि बढी नै मिसयुज गरिरहेका छौं । सानो–सानो विषय पनि राष्ट्रिय मुद्दा बनिरहेका छन् । हाम्रो जस्तो अल्पशिक्षित समाजका लागि यो सञ्जाल अभिशाप बन्दैछ । यसलाई नियन्त्रण होइन, बन्द नै गर्नुपर्छ । म संगीत क्षेत्रको कलाकार भएको नाताले भन्छु, अब यसरी नै छाडा छाड्नु चाहिं हाम्रो समाजका लागि हितकर पक्कै छैन ।
भरत सिटौला, गायक

सही समाचारको जानकारी पाउनु जनताको अधिकार हो । भ्रममा पार्ने सामाजिक सञ्जालहरूलाई नियन्त्रण गरेकै राम्रो ।
यश कुमार, अभिनेता/संगीतकर्मी

देश र जनताका लागि सरकारले बनाउने नियम–कानुनहरू जनपक्षीय हुनैपर्छ । यस अर्थमा देश प्रतिकूल, नियम–कानुन प्रतिकूल क्रियाकलापहरू कहाँबाट, कसरी भइरहेका छन् भन्नेबारेमा चियो गर्नु त राम्रै हो । तर, व्यक्तिगत कुरामा आँखा लगाउने गरी चियो–चर्चो हुने र मिसयुज हुने होला भन्ने त्रास पनि हुन्छ, किनकि रक्षकहरू नै भक्षक भएका धेरै घटना छन् संसारमा । तसर्थ सोझै अपराध गर्नेहरूलाई समाउने, नियन्त्रणका कामहरू धेरै बाँकी रहेका बेला सामाजिक सञ्जाल सरकारले अलि पछि सोच्दा पनि हुन्थ्यो, तर यो गलत नै चाहिँ होइन ।
शान्तिम कोइराला, संगीतकर्मी

अनियन्त्रित गतिमा भएका कुनै पनि कुरा नियन्त्रणमा ल्याउनु बिल्कुल ठीक हो । सामाजिक सञ्जालमा सभ्य अनि शिष्ट भाषा प्रयोग गरिनुपर्छ । हरेक कुरा कानुनी दायरामा आउनु अनिवार्य छ, किनभने यो हाम्रो समाज समेत जोडिएको कुरा हो ।
विल्सनविक्रम राई, कलाकार

धेरै राम्रो । जनताका अभिव्यक्ति, बोल्न पाउने नैसर्गिक अधिकारचाहिं कदापि हनन हुनु हुँदैन । तर, जथाभावी बोल्ने, नियम–कानुनभन्दा माथि रहेर बोल्ने र अशिष्ट अनि असभ्यका साथै पैसा कमाउने नाममा भ्रमपूर्ण शीर्षक राखेर समाचार बेच्नेहरूका निम्ति यो विधेयक अनिवार्य नै छ ।
प्रमोद खरेल, गायक

नियन्त्रणभन्दा पनि व्यवस्थापन गर्नु अनिवार्य छ । पानी चाहिन्छ, तर बाढी होइन । आगो चाहिन्छ तर आगलागी हुनु हुँदैन ।
दीपेन्द्र खनियाँ, रेडियोकर्मी

स्वतन्त्रताको नाममा अहिले भइरहेको छाडा र भद्दा क्रियाकलापको नियन्त्रण हुन्छ र हुनु पनि पर्छ । त्यसका साथै सामाजिक सञ्जालको नियन्त्रणले सामाजिक सचेतना जगाउने, सरकार र विभिन्न संयन्त्रलाई सावधान गर्ने जस्तो कामहरू माथि अलि लगाम लाग्न सक्छ । त्यो कुरामा विचार पुर्‍याउँदै सभ्य, शिष्ट र समतामूलक समाज निर्माणमा सहयोग गर्नु पर्छ ।
दिवाकर भट्टराई, निर्देशक

एक–अर्कालाई गाली गरेको, नराम्रो भनेको पढ्न र सुन्न पाइन्न होला, सन्चो हुन्छ । खालि राम्रा–राम्रा समाचारह रूमात्र हेर्न र पढ्न पाइन्छ ।
शिशिर राणा, निर्देशक

नियन्त्रणभन्दा पनि नियमन गर्नु अनिवार्य देख्छु । नियमनले गलत कार्य गर्नेहरूलाई रोक्न सक्छ । नियन्त्रण नै गरियो भनेचाहिँ व्यक्तिको अभिव्यक्ति स्वन्त्रता नै हनन हुन्छ जस्तो लाग्छ ।
सहिमा श्रेष्ठ, गायिका

सबैले आ–आफ्ना आफन्तहरू फिर्ता पाउँथे होलान्, अनि अल्छी बन्दै गएको जीवनशैलीमा पनि सकारात्मक परिवर्तन आउँथ्यो कि !
मनीषा पोखरेल, गायिका

अनुशासित पत्रकारका लागि जे विधेयक आए पनि राम्रो हुन्छ जस्तो लाग्छ ।
मिलन मोक्तान, संगीतकर्मी

नेपालीहरूलाई दिन कटाउनचाहिँ पक्कै कठिन होला ।
मानस राज, गायक

एउटा शीर्षक राखेर अर्कै समाचार बनाउने र मान्छेको चरित्र हत्या गर्नेहरूको रोजिरोटी बन्द हुन्छ । यो राम्रो कुरा हो, तर सरकारका गलत कामहरूको व्यङ्ग्यात्मक प्रस्तुतिले खबरदारी गर्नसमेत पो लाग्ने हो कि ? तर, सामाजिक सञ्जाललाई नियमनचाहिँ गर्नैपर्छ ।
दीपक आचार्य, निर्देशक

सामाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक लागू भयो भने कतिपय विकृति नियन्त्रणमा आउन सक्छन् । त्यो पक्ष राम्रै हो, तर धेरै कुरा हिजोआज सामाजिक सञ्जलबाटै थाहा पाउने र जानकारी दिने गरिन्छ, त्योचाहिँ बेफाइदा हुनसक्ला । त्यसको साटो अरू कुनै उपाय पक्कै आउने छ ।
युवराज चौलागाईं, गायक

मेरो विचारमा नियन्त्रण गर्ने विधेयक लागू गर्नु राम्रो होला, किनभने सामाजिक सञ्जाल अहिले अति नै उच्छृंखल र छाडा भएर गइरहेको अवस्था छ । त्यसैले यसलाई नियन्त्रण गर्नु जरुरी छ ।
विदुर पाण्डे, छायाँकार

केही हदसम्म नियन्त्रण गर्नुपर्छ । नकारात्मक कुरा रोक्नु पर्छ, तर सम्पूर्ण सामाजिक सञ्जाललाई नै रोक्ने विधेयक ल्याउनु हुँदैन । यसको सकारात्मक पक्ष मात्र प्रयोग गर्ने हो भने सबै पक्षलाई राम्रो छ । सबैलाई भन्दा पनि यसको नकारात्मक पक्षलाई रोक्नका लागि त केही हदसम्म विधेयक ल्याउनुपर्छ ।
सहिमा श्रेष्ठ, गायिका

बन्दै भयो भनेचाहिँ सीधा–सोझा, सकारात्मक सोच भएका मानिसहरू, जो–जतिले सही तरिकाले उपयोग गरिरहेका छन्, उनीहरूका लागि दुःखद कुरा हुनेछ । होइन, नियन्त्रण मात्रै गर्ने हो भने मेरो व्यक्तिगत विचारमा सकारात्मक छु । सामाजिक सञ्जालको कुरा मात्र होइन, कुनै पनि सुविधाको अनुचित फाइदा उठाउँछन् र सुविधाको दुरुपयोग गर्छन् भने त्यसको नियन्त्रण हुन जरुरी नै छ । होइन भने आउँदा दिनहरूमा सकारात्मक घटनाहरू अझ मौलाएर जानेछन्, हरेक परिवार, व्यक्ति, समाज र देशमै समेत अशान्ति निम्तिनेछ ।
आनन्द राई, संगीतकार

सामाजिक सञ्जाल भनेको व्यक्ति–व्यक्तिबीचको सञ्चार हो । यो विषय व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको छ । यद्यपि होच्याउन, हैरानी गर्न, अपमानित गर्न छुट दिनुपर्छ भन्ने होइन । नियमनकारी व्यवस्था त ठीक छ, तर यसबाट पत्रकार अथवा निर्दोष व्यक्ति पनि सजायका भागीदार हुन थाले । अभिव्यक्तिको प्रावधान कुण्ठित भयो भने पाएको सूचना अभिव्यक्त गर्दा समस्या हुनसक्छ । त्यसैले गर्दा यहाँनेर समस्या छ । कुन समाजमा चाहिँ विकृति आउँदैन र ? जुनसुकै समाजमा विकृति हुन्छ । तर के लेखेर–बोलेर आएको विकृति मात्र विकृति हो त ? अरू विकृतिचाहिँ विकृति होइन ? अरू कारणले पनि विकृति आएको हुनसक्छ । तसर्थ, यसलाई अरू पक्षबाट पनि हेरिनुपर्छ र संशोधन गर्नुपर्छ । यदि त्यस्तो विधेयकले समाजमा सकारात्मक असर ल्याउने भए सबले सहर्ष स्वीकार गर्नेछन् ।
लसता जोशी, गायिका

Page 12
समसामयिक

वान्टेड आस्था !

एयरपोर्ट चेकिङमा प्रहरीसँग भनाभन भएपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् ।
- साप्ताहिक संवाददाता

सेलिब्रेटी जीवनमा जोडिने दुई महत्त्वपूर्ण पाटा हुन्— चर्चा र विवाद । चर्चा सकारात्मक र नकारात्मक दुवै हुन्छन्, तर विवाद प्रायः नकारात्मक नै हुने गर्छन् । एयरपोर्टको सुरक्षा चेकिङमा प्रहरीसँग भनाभन भएको विवादले यतिबेला गायिका आस्था राउत चर्चामा छिन् ।
माघ १ गते बुधबार आस्था भद्रपुर जान दिवा समयमा त्रिभुवन विमानस्थलमा पुगेकी थिइन् । उनी सिक्किममा हुने कार्यक्रमका लागि विमानस्थलबाट भद्रपुर जान लागेकी थिइन् । उनलाई आन्तरिक टर्मिनलमा रहेकी प्रहरी जवान रमिला श्रेष्ठले जाँचका क्रममा ज्याकेट फुकाल्न लगाउँदा दुई जनाबीच विवाद भएको थियो । हातमा कफीको कप बोकेर मेटल डिटेक्टिभ एक्सरेमा छिरेपछि आस्थालाई श्रेष्ठले हातको कफी आफूले लिएर पुनः ज्याकेटलाई एक्सरे मेसिनमा राख्न भन्छिन् । हवाईजहाज उड्ने अन्तिम समयमा चेकिङमा परेकी आस्था केही रिसाएको प्रहरीद्वारा सार्वजनिक सिसिटिभी फुटेजमा देख्न सकिन्छ ।
चेकजाँचपछि आस्थालाई उनको कफीको कप जवान श्रेष्ठले दिइरहँदा उनले कप ठेल्छिन् र त्यहाँ रहेको टेबलमा कफी पोखिन्छ, आस्थाको ज्याकेटमा लाग्छ । फुटेजमा आस्थाले प्रहरी कर्मचारीलाई औंला ठड्याएर गाली गरेको देख्न सकिन्छ । भद्रपुर पुगेपछि आस्थाले फेसबुकमा लाइभ गर्दै आफूलाई प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको भन्दै आक्रोश पोखेकी थिइन् । आस्थाले फेसबुकमा प्रहरी संगठनका विरुद्ध गालीगलौज पनि गरेकी थिइन् । प्रहरी जवान श्रेष्ठले राउतविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी दिएपछि जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई पक्रन अनुमति दिएको छ ।
यसैबीच प्रहरीले आस्थाका आमाबाबुले प्रहरी कार्यालयमा ल्याउने प्रतिबद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आस्थालाई कार्यालय हाजिर गराउने अभिभावकको प्रतिबद्धता आए प्रहरी सहयोग गर्न तयार रहेको बताए ।

यी पनि परेका थिए प्रहरी फन्दामा !
आस्थाभन्दा फरक घटनाका कारण हालसम्म केही सेलिब्रेटी प्रहरीको फन्दामा परेर छुटिसकेका छन् । चलचित्र अभिनय करियरमा विवादरहित अभिनेताका रूपमा चिनिएका राजेश हमाललाई २०६८ सालमा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत नवलपरासीकी ३५ वर्षीया महिला प्रहरी हवल्दार बालकुमारी अधिकारीले आफू हमालकी श्रीमती र तीन सन्तानकी आमा भएको भन्दै महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी दिएपछि हमाल हनुमानढोका नै पुग्नुपर्‍यो ।
२०५२ साल वैशाख २ गते राजेश हमालले आफूसँग प्रेमविवाह गरेको भन्दै ती महिलाले अंशसहित श्रीमान् पाऊँ भनी हनुमानढोकामा उजुरी दिने प्रयास गरे पनि प्रहरीले हनुमान ढोकामा अंशसहितको उजुरी दर्ता नहुने भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौं रिफर गरेको थियो । आफूमाथि लागेको आरोप गलत साबित गर्न अभिनेता हमाल स्वयं हनुमानढोकामा उपस्थित भएका थिए । बालकुमारीले राजेश हमालको र आफ्नो मामाघर पनि नवलपरासी रजहरमासँगै रहेको भन्दै हमालले आफूलाई श्रीमतीका रूपमा स्वीकारिसकेको दाबी गरेकी थिइन् । बालकुमारीका भाइ ढाकाराम अधिकारीले आफ्नो दिदी मानसिक रोगको बिरामी भएको प्रमाण प्रहरीसमक्ष पेस गरेपछि उनी मानसिक रोगी भएको खुलेको थियो ।
पप गायक सुगम पोखरेललाई २०६९ माघ २६ गते बेलुका प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनीसहित ६ जनाको समूहलाई मैतीदेवीस्थित सेतोपुलबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको समूहबाट पाँच पोका खैरो हेरोइन बरामद गरेको थियो । प्रहरीका अनुसार ती पोका पोखरेलसँग नभई अन्य व्यक्तिसँग थियो ।
ब्युरोले सुगमलाई त्यसअघि पनि खैरो हेरोइन दुर्व्यसनकै अभियोगमा पक्राउ गरेको थियो । उनीसँग सानो परिमाणमा खैरो हेरोइन बरामद भएपछि प्रहरीले आइन्दा दुर्व्यसन नगर्ने सर्तमा परिवारका सदस्यलाई जिम्मा लगाई छाडेको थियो ।
गत २०७४ चैतमा चलचित्र निर्देशक शम्भु प्रधानले आफ्नो चलचित्रको गीत ‘उकालीमा अघिअघि’ बिनाअनुमति चलचित्र ‘कृ’मा समावेश गरेको भन्दै निर्माता सुवास गिरीविरुद्ध प्रहरीमा उजुरी गरेपछि गिरी एक दिन हिरासतमा बसेर रिहा भए । निर्देशक प्रधानसँग छलफल गर्न भनी प्रहरी परिसर टेकु पुगेका गिरीलाई प्रहरीले सोधपुछका लागि भन्दै हिरासतमा लिएको थियो । त्यसको भोलिपल्ट गीतको भिडियो युट्युबबाट हटाउने र निर्देशक प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने सहमतिमा उनी रिहा भए ।
चलचित्र निर्माता माधव वाग्लेलाई गत जेठ २ गते नक्कली नोटसहित प्रहरीले पक्राउ गर्‍यो । वाग्लेको प्रोडक्सन हाउस प्रिन्सेस मुभिजको कोठामा खानतलासी गर्दा नक्कली नोट भेटिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले वाग्लेसहित अन्य पाँच जनालाई पक्राउ गरेको थियो । चलचित्र ‘चंगाचेट’को छायांकनका लागि नोट बनाए पनि केही नोट बजार पुगेपछि वाग्लेलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले वाग्लेको कोठाबाट २ करोड ५२ लाख नक्कली नोट भेटेको थियो ।
लोकगायक बद्री पंगेनी गत साउन ४ गत जुवाको खालबाट पक्राउ परे । प्रहरीले काठमाडौंको बासबारी क्षेत्रबाट जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट २ लाख रुपैयाँ बरामद गरेको थियो ।
चलचित्र निर्माता गोविन्द शाहीलाई आफैंले निर्माण गरेको चलचित्र ‘लिलिबिली’ले उनलाई प्रहरीको फन्दामा पुर्‍यायो । चलचित्रका अन्य दुई निर्माता मिलन चाम्स र सुदीप खड्काले चलचित्र निर्माण गर्दा १ करोड हिनामिना गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि गत कात्तिक २१ गते शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको थियो ।
तिहारको समयमा देउसी–भैलो गीतलाई बिगारेर प्रस्तुत गरेको आरोपमा गायक तथा मोडल दुर्गेश थापा गत कात्तिक ५ गते पक्राउ परे । दुर्गेशले गाएको ‘ह्याप्पी तिहार’ गीतमा धूमपान, मादक पदार्थ र लागूऔषध खानुपर्छ जस्ता शब्द प्रयोग गरेर सामाजिक सहिष्णुता बिगारेको आरोप लागेपछि अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।
गत जेठ २४ गते युट्युबमार्फत चलचित्र क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले पक्राउ गर्‍यो । निर्माता तथा निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘वीरविक्रम–२’ ताका प्रनेशले चलचित्रका कलाकारको मानमर्दन गरेको भन्दै चाम्सले प्रहरीमा उजुरी दिएपछि महानगरीय अपराध महाशाखा टेकुले गौतमलाई पक्राउ गरेको थियो । चलचित्रको प्रचारप्रसार गरिदिन्छु भन्दा आफूले नमानेपछि प्रनेशले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको व्यापार व्यवसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनामसमेत गरेको भनि निर्देशक राईले जाहेरी दिएका थिए । प्रहरीले प्रनेशलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान कारबाहीका लागि पक्राउ गरेको जनाएको थियो । त्यस्तै गत कात्तिक ७ गते अश्लील गीतहरू गाएको र गीतको भिडियोमा अनुमतिबिना नै असईको लुगा लगाएर गाँजा मोलेको आरोपमा र्‍यापर समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका थिए ।

Page 13
सामाजिक सञ्जाल

‘आस्था राउतले सत्य बोल्या हुन्’

- साप्ताहिक संवाददाता

Pradeep Raj Joshi@pradeep4845
गायिका आस्था राउत प्रकरणमा हिजोसम्म फ्रन्ट–फुटमा आएर लङ–अनतिर छक्का हान्न खोजिरहेको प्रहरीले अब अचानक ब्याक–फुटमा आएर सट खेल्ने संकेत देखिएको छ । त्यो सट डिफेन्सिभ हुन्छ कि हुक वा पुल हुन्छ, हेर्न बाँकी नै छ !

बडा’बा@shubhajee
नबुझेको एउटा कुरा । प्रहरीले कैयौं निहत्था, निर्दोषलाई मारपिट गरेका बग्रेल्ती उदाहरण छन्, त्यहाँ प्रहरीले माफी मागेको देखिन्न । विभागीय कारबाही भएको पाइन्न । आस्था राउत काण्डमा पनि प्रहरी अछुतो देखिन्न । त्यहाँ पनि ती अफिसरको गतिविधि शालिन पक्कै छैन, र पनि प्रहरीको यत्रो दम्भ ?

सरिता भट्ट@Sarubhattas
आस्था राउतले लाइभ भिडियोमा बोल्दा अलि विचार पुर्‍याएर बोलेको भए किन अहिले माफी माग्नुका साथै देश निकाला भए जसरी भारतको सिक्किममा नै लुकेर बस्नु पर्थ्यो त । पूर्खाहरूले त्यतिकै भनेका होइनन्, मान्छेले कि थुतुनो कि त कुन्नी के जाती जोगाउनुपर्छ भन्छन्, सही रै’छ ।

Krishna Hari Upadhya@hari_upadhya
दीपक मनाङ्गेको झापड, आस्था राउतलाई कारबाही गर्न सक्रिय नेपाल फ्रहरीकहाँ छ ?

Nirmal Prasai@NirmalPrasai5
कास्की एन्फा अध्यक्षलाई मञ्चमा कुट्ने दीपक मनाङ्गेलाई कारबाही हुन्छ त भन्नेमा ठूलो शंका–उपशंका आमजनतामा उब्जिरहेको छ । अपशब्द बोल्ने आस्था राउतलाई जस्तै पक्राउ पुर्जी काटिन्छ कि अपराधीको नाम लिँदा पनि हातपाउ फुलाउँछ । प्रशासनको क्षमतालाई सूक्ष्म रूपमा हेरिरहेका छन् आममानिस ।

Maodeep@MaodipThulung
गायिका आस्था राउतको गल्ती देखाए यतिबेला नेपाल प्रहरीलाई ठूलै अपराधी पत्ता लगाइयो भन्ने लागिरहेको होला । मानौं निर्मला काण्ड र ३३ किलो सुनकै नाइके समाइयो जसरी ।

Manoj Dahal@MajojDa65794310
चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, मलाई तँ भन्न कहाँ पाइन्छ ? पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा, मलाई चेकजाँच गर्न कहाँ पाइन्छ ? म त कफी र ज्याकेटलाई माया गर्ने नेपालकी छोरी, मलाई विमानस्थलमा ज्याकेट खोल भन्न कहाँ पाइन्छ ?

Dilli Mani Bhattarai@DM_Bhattarai
आस्था राउतसँगको साधारण भनाभनमा पक्राउ पुर्जी जारी गर्ने प्रहरी सांसद दीपक मनाङ्गेलाई कस्तो व्यवहार हुन्छ ?

Mr. काफ्ले@KafleUtsav
आस्था राउत हक्की स्वभाव...विमानस्थलमा उनले गल्ती गरिन्...तर प्रहरीले अनावश्यक ताण्डव गर्दैछ ।

Binod Neupane@Neupane1Binod
सामाजिक पुँजी भएको व्यक्ति र संस्था जब बोल्छ, सामाजिक नैतिकतासम्बन्धी कसुर थर्किन्छ । नेपाली सांगीतिक दुनियाँका हरिबहादुर राउत बोले, आस्थाबारे तिम्रो कानुन थरथरी काम्छ । हिजोको जस्तो धारा, दफा, उपधारानै नियाल्ने दिन गए । हामी राणाकालीन शैलीमै छौं ।

गन्तव्यविहीन यात्री@SaritaBhattarai6
उखु किसानले भुक्तानी पाए ? मेडिकल माफियाले विद्यार्थीलाई पैसा फिर्ता गरे ? यस्ता घटनामा मौन छ सरकार, तर आस्था राउतलाई पक्राउ गर्न तयारी अवस्थामा छ । लाग्छ उनले ठूलै अपराध गरेकी छिन् ।

Sita Rasaili@sita_rasali
प्रहरीको व्यवहार बुझिसक्नु छैन । के साँच्चै आस्था राउतमात्रै गलत हुन् त ?

DB Khadka@dbkhadka2027
आस्था राउत जस्तै लाखौं यात्रीले यात्रा गर्दा प्रयोग हुने विमानस्थल जस्तो संवेदनशील ठाउँको सुरक्षा घेराको सीसीटिभी फुटेज किन सार्वजनिक गरियो ? जवाफ कता खोज्ने ?

Nikita Khadka@NikitaKhadka98
नेपाल प्रहरीलाई अभद्र व्यवहारको कानुनी व्यवस्था राम्रो हतियार भएको छ जे होस् । प्रहरीले पक्राउ गर्ने भनेपछि आस्था राउत भन्ने कस्तो कलाकार रहिछिन् ?

Sabita@sabitakattel7
आस्था राउतलाई जेल हाल्ने, गाली गलौज सन्दर्भमा अनि हत्याको अभियुक्त लागेको सभामुख । हाहाहा कति हाँस्नु । ३३ किलो सुनको फुटेज भिडियो देख्ने सौभाग्य कहिले मिल्ला त ?

डेजाझू"@imDejavu259
हर व्यक्ति न्यायाधीश अनि हर व्यक्ति डाक्टर हुने देश नेपाल नै त होला नि, कि अन्त पनि अरू कुनै छ ?

Rupesh Shrestha@Roopess
एयरपोर्ट काण्डमा बोल्नु जरुरी नै ठानेको थिइनँ । तर, केही उद्वेगात्मक टिप्पणीहरू हेरेर, सुनेर, पढेर आजित भएँ । दिमागमा केही प्रश्नहरू आए र यहाँ पेश गरेँ । हरेक दिन देशमा कति मानिसहरू प्रहरी वा अन्य बर्दीधारीहरूको विभिन्न प्रकार र तहका दुर्व्यवहारमा पर्छन् होला ?

Rajurajupariyar
केही आस्था नजान्नु भएकी राउतलाई दुई–चार घण्टा प्रहरी चौकीमा राखेर माफी मगाएर छोडेको भए हामी नेपालीहरू पनि अलि सुध्रिन्थेऊँ कि ? साह्रै बिग्रिएका छौं हामी ।

Yubraj Lama@yubrajlama108
कुनै–कुनै सुरक्षाकर्मी रुखो हुन्छन् । एकाध रुखो दम्बी प्रहरीलाई लिएर सिंगो संगठनलाई रोष प्रकट अशोभनीय कार्य गर्नुहुँदैन थियो आस्थाले । राष्ट्रसेवक प्रहरीले पनि तुच्छ वचन नगरेर साधारण शब्दको प्रयोग गरेर आफ्नो डिउटी गरेको भए आस्था राउत र महिला सुरक्षाकर्मी काण्ड भाइरल हुने थिएन ।

Sujata Shrestha@shrestha_sujata
सर्वसाधारणप्रति प्रहरीको रुखो व्यवहार त प्रायः सबै नागरिकले भोगेकै हुन्छन् । जब–जब उनीहरूको व्यवहारविरुद्ध जनमानसले आवाज उठाउँछन्, तब–तब प्रत्येक नागरिकलाई आस्था राउत बनाइन्छ र उनीहरूको बली चढाइन्छ ।

Raj Pratap@Rudra50501787
मलाई एकदम मनपर्ने गायिका आस्था राउत, बोल्ने शैली सुधार्नु होला । बोल्ने शैली चित्त बुझेन । कर्तव्य पालना गरेका हुन् पुलिसहरूले, दुर्व्यवहार होइन ।

C.N.Khadga@LokAawaaz
विमानस्थलमा सरेआम गलहत्याउँदै हातपात गर्ने पारस शाहविरुद्ध उजुरीसम्म गर्न नसक्ने प्रहरी त्यहाँ चेकजाँचको क्रममा प्रहरीको व्यवहारप्रति सामाजिक सञ्जालमा आक्रोश पोख्ने आस्था राउतविरुद्ध पक्राउ फुर्जी जारी गर्छ ।

मेके गुरुङ@TamuMek
खासमा आस्था राउतले सत्य बोल्या हुन्, अब सुध्र नेपाल प्रहरी ।

बक्वासे@gobrezzz
नेकपामा तँ भनेर सम्बोधन गर्न नपाइने रै’छ, भनेसी आस्था राउत दिदी कांग्रेस रै’छिन् हैन्त ?

SanTos@San4Toss
आस्था राउतमात्र होइन, कसैलाई पनि यसरी पुस–माघको जाडोमा ज्याकेट खोल्न लगाऊनु चैं हुन्थेन के ।

Bimal Mahat@mahatbimal
अहोरात्र १६ घण्टा ड्युटीमा खटिने प्रहरीलाई नहेप भन्ने सबक सिकाउने अस्त्र हो आस्था राउत काण्ड ।

Nabin Basnet@being_nb
आस्था राउतको सीसीटिभी फुटेज बाहिर आयो, तर ३३ केजी सुन बोकेको गोरेको सीसीटिभी फुटेज किन बाहिर आउँदैन सरकार ?

 

Page 14
कलिउड

मदिराको प्रायोजनमा मस्ती

- साप्ताहिक संवाददाता

अभिनेत्री प्रियंका कार्कीले यो साता बैंककमा बिताइन् । उनको यसपटकका बैंकक बसाइ निकै मस्तीपूर्ण रह्यो । भन्नेहरूले त उनी ब्याचलर पार्टी मनाउन साथीहरूलाई लिएर त्यता गएको पनि अनुमान गरे । यद्यपि, प्रियंका तथा उनका चार जना साथीहरू एउटा मदिराको प्रायोजनमा रमाइलो गर्न त्यता गएको प्रियंकाले नै इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरूले प्रमाणित गरिदियो । यो अवधिमा प्रियंकाले इन्स्टाग्राममा प्रायः बिकिनी लगाएका अर्धनग्न तथा भद्दा तस्बिरहरू नै पोस्ट गरिरहिन् । प्रियंकाले आफूसँगै मोडल सहाना बज्राचार्य, शिवांगी प्रान, श्रेया जोशी आदिलाई लिएर गएकी थिइन् । त्यस क्रममा उनीहरूले बिकिनी लगाएकी एकल तथा सामूहिक तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरिरहे । एउटा पोस्टमा त प्रियंकाले आफ्नो समूहलाई खर्च गर्ने मदिरालाई धन्यवाद नै व्यक्त गरेकी छिन् । अनुमान के लगाइएको छ भने ती पाँच जना सुन्दरीका ग्ल्यामरस तस्बिरहरूलाई उक्त मदिराले आफ्नो प्रचार सामग्री (क्यालेन्डर) मै प्रकाशित गर्ने सम्भावना छ । कुनै समारोहलाई प्रायोजन गर्नु त ठीकै हो, उक्त मदिराले सुन्दरीहरूलाई विदेशकै सयर गराएर रमाइलो वातावरण बनाइदिएको भने यो सम्भवतः पहिलो पटक नै हुनुपर्छ ।

कलिउड

कमेडी चर्चामा सुमन

- साप्ताहिक संवाददाता

कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको
स्ट्याण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ रोमाञ्चक मोडमा पुगेको छ । उत्कृष्ट ५ मा प्रवेश गरिसकेको उक्त शोमा यो साता निर्णायकहरूको वाइल्ड कार्डमार्फत सुमन कोइराला छैटौं फाइनलिस्टका रूपमा प्रवेश गरेर तहल्का मच्चाए । इटहरीका सुमन कोइराला प्रतिस्पर्धाको यो चरणमा आइपुग्दा भाग्यमानीसमेत मानिएका छन् । निर्णायकमध्येका एक चलचित्र निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘निर्णायकलाई बाहिरिएका पाँच जनामध्ये एक जनालाई पुनः भित्र्याउने अधिकार प्रदान गरिएको थियो । बाहिरिएकामध्ये सुमनको उत्कृष्ट प्रस्तुतिका कारण उनलाई वाइल्ड कार्ड इन्ट्री मिलेको हो । यो साता प्रस्तुतिमा सुमनले आफूलाई थप प्रमाणित गरिदिएका छन् ।’ निर्णायक भट्टराईका अनुसार सुमनको ‘अर्ग्यानिक’ कमेडी नै उनको बलियो पक्ष हो । ‘हामी सबैले देखेका, भोगेका कुराहरूलाई टपक्कै टिपेर ल्याउने उनको खुबी अलौकिक छ, निर्णायक भट्टराई भन्छन्, ‘उनले दिने कन्टेन्ट पनि उत्तिकै मौलिक छ ।’
सुमनको हास्य चेत तथा चोटिलो प्रहारलाई दर्शकहरूले मन पराएका छन् । एउटै विषयवस्तुमा धेरै कुरा अटाउन सक्ने उनको खुसीको चौतर्फी प्रशंसा भएको छ । गत मंगलबारको कार्यक्रममा उनले जग्गा दलालहरूका बारेमा चोटिलो व्यङ्य प्रहार गरेका थिए ।

फिल्मीखबर

फिल्मीखबर

- साप्ताहिक संवाददाता
  • माघ १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘दि कर्मा’ लाई सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ । १६ वर्षभन्दा कम उमेरका दर्शकहरूले अभिभावकको साथमा हेर्न पाउने प्रमाणपत्र पाएको यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित यो चलचित्रमा करण बर्मा, नीता ढुंगाना, पारमिता आरएल राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित आदि कलाकारले अभिनय गरेका छन् ।
    िफागुन २ गतेदेखि प्रदर्शन हुने सौरभ चौधरीद्वारा निर्देशित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक भएको छ, जसमा अभिनेता सुशील श्रेष्ठ तथा अभिनेत्री रुविना थापाबीचको प्रेम, रोमान्स र बिछोड चित्रण गरिएको छ । चलचित्रमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विजय पहारी आदि कलाकारले पनि अभिनय गरेका छन् ।
    िचैत २१ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लक्का जवान’ को शीर्षक गीत ‘म त सधैं लक्का जवान’ ले युट्युबमा औसत भ्युज पाएको छ । एक साताअघि सार्वजनिक भएको उक्त गीतले छ दिनमा साढे तीन लाख मात्र भ्युज पाएको छ । उक्त गीतमा दिलीप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, किरण केसी, शिवहरि पौडेल आदि कलाकारले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफीको उक्त गीतमा बाबुल गिरी तथा मीना निरौलाको स्वर छ ।
  • अभिनेता पुष्प खड्काले जन्मथलो कैलालीस्थित सहारा घरलाई नगद ५० हजार रुपैयाँ तथा खाद्यान्न सहयोग गरेका छन् । मेलाबाट पाएको पारिश्रमिकको केही प्रतिशत सहारा घरलाई सहयोग गरेको पुष्पले बताए । पुष्पले हालैमात्र चलचित्र ‘चालबाज’ को छायांकन सम्पन्न गरेका छन् ।
  • पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘आमा’ फागुन ९ गतेदेखि प्रदर्शन हुँदैछ । आमा र छोरीबीचको भावनात्मक सम्बन्धको विषय समेटिएको यो चलचित्र अस्ट्रेलिया तथा अमेरिकामा समेत प्रदर्शन हुने भएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार अब यो चलचित्र नेपालसँगै ती दुई देशमा पनि एकै साथ प्रदर्शन हुने छ । चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् ।
कलिउड

कमान्डर

फ्राइडे रिलिज
- साप्ताहिक संवाददाता

निर्देशक : एलआर विवेक सापकोटा
कलाकार : अनुपविक्रम शाही, रविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, साधना सिलवाल, सगुन थापा आदि ।
संगीतकार : मनोज चौलागाईं
आज शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र ‘कमान्डर’ मा प्रहरी तथा तस्करबीचको टक्करलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा अभिनेता अनुपविक्रम शाहीले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने रविन तामाङले तस्करको नाइकेको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा समाजमा व्याप्त भ्रष्टाचार, तस्करी, लागू औषध कारोबार, चेलीबेटी बेचबिखनजस्ता विषयलाई चित्रण गरिएको छ । द्वन्द्व प्रधान दृश्यहरूको अत्यधिक प्रयोग गरिएको यो चलचित्रलाई दिव्य सुवेदीले छायांकन गरेका हुन् भने श्री श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् ।

Page 15
बलिउड

बलिउडका स्टन्ट वुमन

- साप्ताहिक संवाददाता
 

चलचित्र हेर्ने दर्शकले चलचित्रमा अभिनेता अभिनेत्रीको नृत्य, गीत, उनीहरूको रोमान्स, अभिनेता र भिलेनको द्वन्द्वलाई खुबै आनन्दपूर्वक हेर्ने गर्छन् । तर, उनीहरूलाई यो माहौल मिलाउन पर्दापछाडिका पात्रहरूका बारेमा उनीहरूलाई कमै थाहा हुन्छ । बलिउडमा हालका दिनमा महिलाप्रधान एक्सन चलचित्रको मात्रा बढ्दो छ । ऐतिहासिक भूमिका निर्वाह गर्दा पनि अभिनेत्रीको भागमा एउटा न एउटा द्वन्द्वको दृश्य परिरहेकै हुन्छ । बलिउडमा सन् १९६० देखि सन् २०२० सम्म अभिनेता र अभिनेत्रीलाई द्वन्द्वका स्टन्ट देखाउने काममा पुरुष मात्र होइन, महिला प्राविधिकहरू पनि उत्तिकै सक्रिय छन् ।
रेशमा पठान बलिउडकी मात्र होइन, भारतकै पहिलो स्टन्ट वुमन हुन् । उनले १४ वर्षको उमेरदेखि नै स्टन्ट यात्रा सुरु गरेकी थिइन् । स्टन्ट कलाकारका रूपमा उनले चलचित्र ‘एक खिलाडी ५२ पत्ती’बाट यात्रा सुरु गरेकी हुन् । चलचित्रमा उनले लक्ष्मी छायाको डुप्लिकेटको भूमिका निर्वाह गरेकी थिइन् । ‘शोले गर्ल’का रूपमा चिनिएकी रेश्माका बारेमा ‘शोले गर्ल’ नामक वृत्तचित्र नै बनेको छ । हाल उमेरले ६७ वर्षमा दौडिइरहेकी रेशमा अहिले पनि स्टन्ट गर्न डराउँदिनन् ।
उनले चलचित्र ‘मेरे अपने’मा राजेश खन्ना र शत्रुघ्न सिन्हाबीचको एक्सनमा झुपडीमाथि झर्ने सट दिएकी थिइन् । चलचित्र ‘शोले’को एक दृश्यमा अभिनेत्री हेमा मालिनी घोडाले तान्ने टाँगामा चढिरहँदा टाँगाको चक्का भाँचिन्छ र उनी लड्छिन् । पर्दामा हेमा लडेको देखिए पनि उनी हेमा नभई रेशमा नै हुन्छिन् । यही चलचित्रमा होली गीतपछि एउटा दृश्य छ, जहाँ हेमा बच्चालाई गब्बर सिंहबाट बचाउँछिन् । यी दुवै दृश्यमा हेमालाई दोहोरो भूमिकामा देखाइन्छ । त्यसमा एउटा भूमिका रेशमाले नै निर्वाह गरेकी छन् ।



चलचित्र ‘कर्जा’मा उनले सिम्मी अग्रवालको दोहोरो भूमिका निर्वाह गरेकी छन् । यो चलचित्रको एक दृश्यमा ट्रक पछाडि आएर हिर्काउँछ । यो एक्सन सिक्वेल गरिरहँदा रेश्माको कम्मरमा चोट लागेको थियो । यस्तै चलचित्र ‘कसमे वादे’मा उनी ४० फिट माथिबाट तल हामफालेकी छन् । जसकारण उनको खुट्टाको हड्डी फुटेको थियो । उनले चलचित्र ‘पाप पूण्य’ मा शर्मिलाको, चलचित्र ‘धर्म काँटा’ मा वहिदाको, चलचित्र ‘बगावत’ मा हेमा र रिया सेनको, ‘राज महल’ मा नीतु सिंहको दोहोरो भूमिका निर्वाह गरेकी छन् ।
नयाँ पुस्ताका स्टन्ट वुमन पनि अभिनेता तथा अभिनेत्रीको स्टन्ट दृश्य देखाउन कम छैनन् । आशमा सेख पनि बलिउडमा चर्चामा आइरहने स्टन्ट वुमन हुन् । उनले दीपिका पादुकोण अभिनीत चलचित्र ‘छपाक’, कंगना रनावतको ‘मणिकर्णिका’मा आफ्नो स्टन्ट कला देखाइसकेकी छन् । चलचित्र ‘बाजीराव मस्तानी’मा मस्तानीको तलवारबाजी र घोड सवारी वा ‘फिलौरी’ मा अनुष्का शर्माका लागि लिइएको भूतिया एक्सनको स्टन्ट दिएकी छन् । अग्ली कदकी भएकै कारण पनि आशमालाई पछिल्लो समयमा अभिनेत्रीहरूलाई एक्सन दृश्यको स्टन्ट दिन सजिलो भएको छ । त्यसैले उनी निर्माता तथा निर्देशकको नजरमा पर्न थालेकी छन् ।
चलचित्र ‘छपाक’मा अनुहारमा एसिड लागेपछि दीपिका पादुकोण भुइँमा लडेको सट खिचिएको छ । यो टेक आशमाले नै लिएकी हुन् । यतिमात्र होइन, चलचित्र ‘मणिकर्णिका’मा राखिएको कैयौं घोडसवारीको दृश्य आशमाले नै गरेकी हुन् । चलचित्र ‘बाजीराव मस्तानी’मा देखाइएको दीपिकाको तलवारबाजी पनि आशमाले नै गरेकी हुन् । चलचित्र ‘परी’मा अभिनेत्री अनुष्का शर्मा जंगलमा भागेको, रुखको पछाडि लुकेको दृश्यको टेक आशमाले नै दिएकी हुन् । यस्तै चलचित्र ‘उड्ता पन्जाब’मा आलिया भट्टका धेरै दृश्य आशमाले नै दिएकी हुन् ।
कैयौं एवार्ड आफ्नो नाममा पारिसकेकी गीता टण्डनले कैयौं अभिनेत्रीका लागि स्टन्ट दिएकी छन् । करिना कपुर, आलिया भट्ट, दीपिका पादुकोण, नेहा धुपिया, दिव्या दत्ता र ऐश्वर्याको ‘जज्बा’मा यी सबै कलाकारको दोहोरो चरित्र निर्वाह गर्ने पात्र गीता नै हुन् । चलचित्र ‘चेन्नई एक्सप्रेस’मा पनि रातो साडीवाला दीपिकाको दृश्य गीताले नै सुट गरेकी हुन् ।
सन् १९६८ मा रेशमाले स्टन्ट वुमनको करियर सुरु गरे पनि सन् १९७४ मा यसले आधिकारिक मान्यता पाएपछि स्टन्टलाई करियर बनाउनेको एउटा लहर नै चल्यो । हालसम्म यो पेसा अँगाल्नेको संख्या झन्डै १५ सय आसपास छ । यसमा स्टन्ट वुमनको संख्या उल्लेख्य छ ।
स्टन्टमा संलग्न स्टन्ट वुमन घरायसी आर्थिक अवस्था कमजोर भएका कारण जोखिमपूर्ण काम अँगाल्नुपरेको बताउँछन् । जुनियर कलाकारको तुलनामा स्टन्ट आर्टिस्टको पारिश्रमिक केही बढी हुन्छ । उनीहरू चलचित्रको अभिनेत्रीलाई स्टन्ट दिइरहँदा कुनै असुरक्षा नहोस् भन्नेमा सचेत हुन्छन् ।
अभिनेता अक्षयकुमार आफूलाई बलिउडको पहिलो स्टन्ट कलाकार मान्छन् । मुभी स्टन्ट आर्टिस्ट एसोसिएसनमा आबद्ध भएकै कारण उनले आफूलाई यो दाबी गर्दै आएका छन् । २०१७ मा उनले सबै स्टन्ट कलाकारलाई मेडिकल इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स दिने पहल गरेका थिए । त्यो पहल लागू भएपछि अहिले बलिउडका सबै स्टन्ट आर्टिस्ट सुरक्षित छन् । फाइट मास्टर एजाजका अनुसार झन्डै ६ सय २५ स्टन्ट आर्टिस्टको इन्स्योरेन्सको खर्च अक्षयकुमारले नै तिरिदिएका छन् ।

Page 16
Page 17
Page 18
आवरण

पर्दाका खेलाडी

सिनेमामा झांगिँदै गुटबन्दी
- कृष्ण भट्टराई,नेमिष गौतम

चलचित्र यसै पनि सामूहिक कर्म हो । एउटै चलचित्र निर्माण हुँदा निर्मार्ता–निर्देशक, कलाकार, प्राविधिक, सर्जक गरेर दर्जनौं मानिसको सहभागिता हुन्छ । तर, एकै खालका मान्छे स्थायी रूपमा एउटै समूहमा रहेर काम गर्ने चलन पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बढिरहेको छ । यसलाई कतिपय चलचित्रकर्मी र चलचित्र–समीक्षकले नेपाली चलचित्रमा बढ्दो गुटबन्दीका रूपमा अर्थ्याउने गरेका छन् ।
‘हामी चलचित्रकर्मीहरू एक–अर्काप्रति सद्भाव नै राख्दैनौं । एक–अर्कामा सहयोगको भावनासमेत राख्न छाडेका छौं’, केही महिनाअघि काठमाडौंमा सम्पन्न एऊटा अन्तर्त्रियामा चलचित्र निर्माता प्रदीपकुमार उदयले भनेका थिए, ‘चलेको चलचित्रलाई स्विकार्न नसक्ने तथा नचलेको चलचित्रलाई बढाइचढाइ गर्ने गुटबन्दीको समस्या अहिले नेपाली चलचित्र क्षेत्रले भोगिरहेको छ ।’ निर्मार्ता उदयको यो भनाइ नेपाली चलचित्र क्षेत्रमा व्याप्त विसंगतिमाथि सामान्य टिप्पणी मात्रै होइन, बरु बढ्दो गुटबन्दीप्रति पोखिएको तीतो यथार्थ हो ।
चलचित्र निर्माण तथा वितरणको क्षेत्रमा लामो समयदेखि क्रियाशील उदयको भनाइजस्तै केही वर्षयता नेपाली चलचित्र क्षेत्रमा भिन्न–भिन्न समूहको गुटबन्दी मौलाउँदै गएको छ । पछिल्लो आधा दशकयता आधा दर्जनभन्दा बढी यस्ता समूह बनेका छन् । ती समूहमा निर्देशक, निर्माता, अभिनेता–अभिनेत्री, संगीतकार, लेखकदेखि स्पट–ब्वाइसम्म आबद्ध छन् । अपवादबाहेक एउटा समूहमा रहेका चलचित्रकर्मीहरू अर्को समूहले निर्माण गर्ने चलचित्रमा विरलै देख्न पाइन्छ । अझ एउटा समूहले अर्को समूहलाई प्रतिस्पर्धी ठान्ने प्रवृत्ति पनि बढ्दै छ ।

कसरी प्रारम्भ भयो गुट ?
चलचित्र निर्माता प्रदीप उदयको भनाइलाई विश्वास गर्ने हो भने एकल रूपमा निर्माण गरिएका नेपाली चलचित्रले व्यावसायिक सफलता हासिल गर्न सक्ने ग्यारेन्टी नै नभएर समूहमा मिलेर चलचित्र बनाउने चलन बढेको हो । समूहले चलचित्र बनाउँदैमा त्यसले उत्कृष्ट व्यवसाय गर्छ भन्ने हुँदैन । समूहले बनाए पनि, एकल निर्माता–निर्देशकले बनाए पनि व्यावसायिक रूपमा सफल हुनका लागि चलचित्र नै राम्रो बन्नुपर्छ । ‘चलचित्र नराम्रो बन्यो भने स्वतः घाटामा जान्छ’, निर्माता उदय भन्छन्, ‘व्यावसायिक रूपमा सुरक्षित हुन पनि चलचित्र क्षेत्रमा विभिन्न समूहको जन्म भएको हो । अहिले एक्लै चलचित्र बनाएर कोही पनि ‘रिस्क’ लिन चाहँदैन । त्यसैले पनि समूहको प्रचलन बढेको छ ।’
नेपाली चलचित्र क्षेत्रमा कुनै बेला छवि ओझा, युवराज लामा, अशोक शर्माजस्ता मेकरहरूले समेत समूहको अवधारणामा काम नगरेका होइनन् । त्यतिबेला चलचित्रको निर्माण संख्या अति कम भएका कारण कलाकारदेखि प्राविधिकसम्म आ–आफ्ना विधामा प्रशस्त मेहनत गर्थे । त्यो बेला प्रदर्शनमा आएका कति चलचित्रले व्यावसायिक सफलता पनि हासिल गरेका थिए । देशमा राजनीतिक अस्थिरता र द्वन्द्व चर्किएका बेलामा मनोरञ्जन क्षेत्र धराशायी हुन थाल्यो, जसका कारण चलचित्र निर्माणमै कमी आउन थाल्यो भने कतिपय सिनेमा हलहरूसमेत बन्द भए ।
०६२/६३ को जनआन्दोलनपछि राजनीतिक व्यवस्था फेरिएसँगै चलचित्र क्षेत्रले पुनः फस्टाउने अवसर पायो । दीपकराज गिरी र दीपाश्री निरौला (दीपक–दीपा) समूहले ‘६ एकान ६’ बनाउने क्रममा समूहको अवधारणाबारे सोचेको थिएन । माओवादी सशस्त्र द्वन्द्वको विषय उठान गरिएको दोस्रो चलचित्र ‘वडा नम्बर ६’ मा पुग्दा–नपुग्दै अघोषित रूपमा दीपक–दीपाको बेग्लै समूह बन्यो । हास्यशृंखला ‘तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै’मा काम गर्ने कलाकारहरूकै समूहले ‘६ एकान ६’ चलचित्रमार्फत ठूलो पर्दाको चलचित्र निर्माणमा हात हालेको थियो । ‘वडा नम्बर ६’, ‘छक्कापन्जा’ नामका तीन सिक्वेल र पछिल्लो ‘छ माया छपक्कै’सम्म आइपुग्दा दीपक–दीपा समूह सुदृढ मात्र भएन, यो समूहकै कारण अन्य चलचित्रकर्मीलाई समेत समूहमै काम गर्नुपर्ने रहेछ भन्ने भावना जगायो । फलस्वरूप यतिबेला नेपाली चलचित्र क्षेत्रमा झन्डै एक दर्जन समूह सक्रिय छन्, जसले नियमित चलचित्रहरू निर्माण गरिरहेका छन् ।
हलिउड र बलिउडमा जस्तो सिक्वेल तथा शृंखलाबद्ध चलचित्र निर्माण गर्ने लहर चलेपछि यस्ता समूहहरू अझ सशक्त भएको बुझाइ केही चलचित्रकर्मीको छ । निर्माता–निर्देशक विकासराज आचार्य, रेखा थापा, छवि ओझा, सुदर्शन थापाजस्ता अधिकांश चलचित्र निर्माताहरू आ–आफ्नो समूहमा आबद्ध भएर सिक्वेल तथा शृंखलाकै निर्माणमा सक्रिय छन् ।



गुटबन्दीको समस्या
एउटा गुटमा आबद्ध कलाकारले आफ्नै गुटले बनाउने चलचित्रमा मात्रै काम गर्छन् । उदाहरणकै कुरा गरौं, दीपक–दीपा समूहले निर्माण गरेका चलचित्रमा गीत–संगीतले महत्त्वपूर्ण स्थान राखेको देखिन्छ । ‘सुर्के थैली खै’देखि ‘पूर्वपश्चिम रेल’जस्ता लोकशैलीका धुन सिर्जना गर्ने संगीतकार राजनराज शिवाकोटी कुनै बेला यही समूहका खम्बा थिए । दीपक–दीपाका दुई चलचित्र ‘वडा नम्बर ६’ तथा ‘छक्कापन्जा’का गीत राजनराजले नै तयार पारेका हुन् । ‘छक्कापन्जा–२’ तथा त्यसपछिका चलचित्रमा भने यो समूहमा राजनराज शिवाकोटी अटाएनन् । दीपक–दीपा समूहले ‘छक्कापन्जा–२’ मा अल्मोडा राणा, ‘छक्कापन्जा–३’ मा दीपक शर्मा र ‘छ माया छपक्कै’ मा वसन्त थापालाई संगीतकार लियो ।
गुटबन्दीले कलाकार कि सधैं एउटै समूहको बनाउँछ, कि कसैको पनि नहुने बनाउँछ । अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटीकै कुरा गरौं न । वर्षा राउत दीपक–दीपाका प्रायः सबै चलचित्रमा छिन् । वर्षा शिवाकोटीले भने उक्त समूहसँग हालसम्म एउटा पनि चलचित्र गर्न पाएकी छैनन् । विकास आचार्य निर्देशनको ‘नाइँ नभन्नु ल–२’ चलचित्रमार्फत अभिनयमा आएकी शिवाकोटीलाई आचार्यले पनि त्यसपछिका कुनै पनि चलचित्रमा लिएनन् । पछिल्लो समय उनी मिलन चाम्सको समूहमा आबद्ध थिइन् । अहिले भने कुनै समूहमा अटाउन सकेकी छैनन् ।
पछिल्लो समय लोकप्रिय हुँदै गएका प्रदीप खड्का निर्माता–निर्देशक सन्तोष सेनको समूहको सदस्यका रूपमा चिनिन्छन् । प्रारम्भमा सुदर्शन थापाको ‘प्रेमगीत’मार्फत दर्शकको मन जितेका प्रदीपलाई त्यसपछि सुदर्शनले आफ्ना कुनै पनि चलचित्रमा लिएनन् । सुदर्शन मात्र होइन, उनकै समूहकी अभिनेत्री तथा निर्मात्री पूजा शर्मासँग सम्बन्ध बिग्रिएपछि अभिनेता खड्का केही समय स्वतन्त्र भएर काम गरे । पछिल्लो समय उनी निर्माता–निर्देशक सन्तोष सेनका चलचित्रमै काम गरिरहेका छन् ।
चलचित्र समीक्षक अनुप सुवेदी समूह बनाएर चलचित्र निर्माण गर्नेहरूले गम्भीर विषयमा काम गर्न नसकेको बताउँछन् । उनका अनुसार पछिल्लो समय गुट बनाएर काम गर्नेहरूले सामाजिक विषय उठाएका भए पनि बढी कमेडी फ्लेभरका चलचित्र बनाएका छन् ।
सुवेदी नेपालको चलचित्र क्षेत्र अहिले बिस्तारै स्टुडियो सिस्टममा जान खोजिरहेको तर्क गर्छन् । ‘यस्तो बेलामा समूहमा रहेर प्रोडक्सन हाउस बनाउनु खुसीको कुरा हो, जसले चलचित्र वितरणदेखि निर्माणसम्मको काम गरिरहेको छ’, सुवेदी भन्छन्, ‘सिर्जनाका हिसाबले समूहबिना नै चलचित्र बनाउनेलाई केही गाह्रो भएको छ । धेरै व्यक्तिको समूह बनाएर चलचित्र बनाउने क्रम भर्खर–भर्खर सुरु भएको छ । यो कति दिनसम्म टिक्छ भन्ने मुख्य कुरा हो । हामीले विगतको अवस्थालाई पनि नियाल्नुपर्छ । कुनै समय छविराज ओझा र युवराज लामाको पनि यस्तै समूह थियो । ती समूह लामो समयसम्म रहन सकेनन् ।’ अहिले धेरै समूहले कमेडी फ्लेभरलाई नै फलो गरिरहेको र नयाँ क्रिएटिभ चलचित्र बनाउँछु भन्नेका लागि गाह्रो अवस्था भएको पनि सुवेदीको बुझाइ छ ।
‘अहिले निश्चित फर्म्याटको चलचित्र हुनुपर्छ भन्ने दबाब छ, किनभने बजारमा दर्शकले त्यस्तै चलचित्रलाई बढी रुचाइरहेका छन्’, सुवेदी भन्छन्, ‘समूहमा लगानी गर्नु राम्रो पक्ष हो, तर त्यसको व्यापार कत्तिको पारदर्शी छ भन्ने गौण छ । यो कुराको खोजी हुनुपर्छ ।’ चलचित्र क्षेत्रमा बढ्दो महँगीले समूह–समूह बनेको भन्ने बुझाइ गलत भएको सुवेदीको तर्क छ । उनी भन्छन्, ‘समूहमा काम गर्दा निर्माणदेखि चलचित्र वितरण गर्न र हलमा लैजानसम्म सजिलो भएको छ । मार्केटिङ गर्न, साइड कास्टिङ गर्न सजिलो भएको छ । नाम चलेका कलाकारलाई पनि कसको टिममा जाने विकल्प पनि तयार भएको छ ।’
निर्देशक तथा समीक्षक मनोज पण्डित चलचित्र निर्माण गर्दा प्रतिस्पर्धा समूह–समूहबीच नभएर चिन्तनमा हुनुपर्ने बताउँछन् । चलचित्र वैचारिक उत्पादन भएकाले समूहमा चलचित्र बन्नु नयाँ नहुने उनको तर्क छ । ‘चलचित्र समूहबाटै बन्ने हो । त्यो समूहमा विभिन्न विचार भएका व्यक्तिहरू संलग्न हुन्छन् । विचार मिल्ने मान्छेसँग मात्र काम गर्न सजिलो हुन्छ । समूहमा विचार, अर्थशास्त्र र व्यवस्थापनको कुरा आउँछ । अहिले दर्शक तथा प्रदर्शकले समूहलाई नै विश्वास गर्न थालेका छन्’, पण्डित भन्छन्, ‘समूहमा काम गर्दा प्रतिस्पर्धा नै हुनु हुँदैन भन्ने होइन । प्रतिस्पर्धा समूहमा होइन, चिन्तनमा हुनुपर्छ । चलचित्रमा कोही नयाँ मान्छे आयो भने ऊभन्दा पनि उसको चिन्तन प्रणाली कस्तो छ, त्यसमा ध्यान दिनुपर्छ । नयाँ चिन्तन लिएर आएको छ भने समाजमा आफूलाई स्थापित गर्न महत्त्वपूर्ण ठाउँ पाउँछ । निश्चल बस्नेत आउँदा उसमा नयाँ चिन्तन थियो, तर ऊ पुरानै चिन्तनमा फर्किंदा असफल भयो ।’
चलचित्र लेखक तथा समीक्षक विजय अधिकारीको तर्क अलि बेग्लै छ । उनी चलचित्र क्षेत्रको गुटबन्दीले मिश्रित परिणाम दिइरहेको सुनाउँछन् । ‘समूहमा चलचित्र बनाउनुलाई मैले सकारात्मक तथा नकारात्मक दुवै पाटोबाट हेर्छु,’ अधिकारी भन्छन्, ‘पहिला सकारात्मक कुरा गरौं । समूहमा चलचित्र बनेपछि त्यसमा एउटा लिडर हुन्छ नै । जस्तो दीपकराज गिरी, निश्चल बस्नेत, प्रदीप भट्टराई लिडर हुन् । समूह भनेको एउटा ब्रान्ड हो । बलिउडमा हेर्ने हो भने सलमान खान, आमिर खान आफैंमा ब्रान्ड बनिसकेका छन् । शाहरूख पनि ब्रान्ड हुन्, तर उनी पछिल्लो समयमा खस्कँदै गएका छन् । अहिले ब्रान्डले गर्दा दर्शकलाई चलचित्र हेर्ने माहौल बन्यो । दीपकराज, निश्चल, प्रदीपलगायतको समूहको फ्लेभर आफ्नै किसिमको छ । दर्शकबाट पनि उनीहरूकै फ्लेभरको चलचित्र हेर्न पाइयोस् भन्ने अपेक्षा हुन्छ । उनीहरू त्योभन्दा बढी र कम पनि अपेक्षा गर्न सक्दैनन् ।’
अधिकारीले गुटबन्दीका कारण कथा प्रस्तुतीकरणमा विविधता नआएको टिप्पणी पनि गरे । ‘गुटबाट बन्ने हरेक चलचित्रको फ्लेभर एउटै बन्दै गएको छ । कथालाई कसरी चलाउन सकिन्छ भन्नेमा उनीहरू केन्द्रित हुन सकेका छैनन्’, उनले भने, ‘अर्को कुरा, बलिउडमा सलमान खानलाई दर्शकले भाइजानकै रूपमा चिनिरहेका छन् । उनले आफूलाई जुनसुकै चलचित्रमा पनि भाइजानकै रूपमा प्रस्तुत गरिरहेका छन् । यस्तो क्रियाकलापले एउटा कलाकारको कलाकारिता मर्छ । हामीले हेर्दा पनि सलमानमा त्यही समस्या देख्छौं । रोहित सेठ्ठीले चलचित्र बनाउँदा उसले चलचित्रमा गाडी उडाउँछ भन्ने दिमागमा बसिसकेको हुन्छ । हामीले ब्रान्ड थिङ्किङलाई राम्ररी स्थापित गर्न सकेका छैनौं ।’ अधिकारी गुटबन्दीकै कारण चलचित्र क्षेत्रले सामाजिक विषय पहिचान गर्न नसकेको दाबी गर्छन् ।

गुटबन्दीबारे के भन्छन् चलचित्रकर्मी ?
सन् १९६४ मा हीरासिंह खत्रीले निर्देशन गरेको ‘आमा’लाई नेपालमा बनेको पहिलो चलचित्र मान्ने गरिन्छ । सरकारको सूचना विभागअन्तर्गत रहेर यो चलचित्र निर्माण भएको थियो । तत्कालीन समयमा चलचित्रहरू कम्पनीअन्तर्गत निर्माण हुने गरेका निर्देशक, निर्माता तथा गीतकार यादव खरेल सम्झन्छन् । उक्त कम्पनीमा दुईदेखि तीन जना निर्माता रहन्थे । ‘त्यो समयमा एउटै मान्छेको पनि कम्पनी हुन सक्थ्यो अथवा एकभन्दा बढीको पनि हुन्थ्यो । अरू कम्पनी संलग्न हुने भए पनि पार्टनरका रूपमा निर्माण हुन्थ्यो’, यादव भन्छन्, ‘२०२८ सालमा शाही नेपाल चलचित्र संस्थान गठन भएपछि त्यसअन्तर्गत धेरै चलचित्र बने । निजीको कुरा गर्दा ‘माइतीघर’पछि अन्य चलचित्र बने । निजीमा पनि कम्पनी एउटै भए पनि सेयर होल्डर फरक हुन्थे ।’
यादवको बुझाइमा समूह बनाएर चलचित्र निर्माण गर्नु शक्तिको प्रयोग गर्नु हो । ‘त्यो शक्ति पैसा र व्यवसाय दुवैको हुन सक्छ । समूहमा रहेर काम गर्नु राम्रो कुरा हो । नेपालमा पछिल्लो समयमा समूहले कसरी काम गरिरहेका छन्, त्यसबारे म खासै अपडेट त छैन, तर मेरो बुझाइमा समूहमा काम गर्दा विग्रह र विवाद आउन सक्छ’, उनी भन्छन्, ‘एउटाको मात्र हुँदा एकल निर्णय हुन्छ । निर्माताले यी कुरालाई मिलाएर लैजानुपर्छ ।’
निर्माता छविराज ओझाले अभिनेता राजेश हमालको ‘डेब्यु’ चलचित्र ‘युगदेखि युगसम्म’बाट निर्माणमा हात हालेका हुन् । त्यसयता निर्माणमा सक्रिय उनको पछिल्लो चलचित्र ‘मंगलम्’ हो । उनको बुझाइमा डिजिटल फर्म्याटमा चलचित्र निर्माणमा महँगी बढ्नुले पनि समूहमा काम गर्नु राम्रो हो । ‘समूह बनाएर चलचित्र निर्माण गर्नु नराम्रो कुरा होइन । अहिलेको पुस्तामा चलचित्र महँगो बन्दै गएको छ । धेरै जना मिलेर धेरैवटा चलचित्र निकाल्नुभन्दा समूह–समूहमा बसेर राम्रो चलचित्र बनाउनु राम्रो कुरा हो’, उनी भन्छन्, ‘त्यसो भयो भने धेरै पैसा खर्च गरेर राम्रो चलचित्र बनाउन पनि सकिन्छ । त्यसमा रिस्क पनि कम हुन्छ । हाम्रो समयमा समूह हुँदैनथ्यो । त्यो समयमा ५० देखि ६० लाखमा चलचित्र बन्थ्यो । अहिले यो चलन नेपालमा मात्र होइन, हलिउड र बलिउडमा पनि छ ।’
छविका अनुसार समूहमा काम गर्दा देखिने नराम्रो पक्ष कसले के काम गर्ने, कुन कम्पनी कसको नाममा राख्ने भन्ने हुन्छ । ‘सकारात्मक पक्ष भनेको कम्पनीलाई नै अगाडि लाने भन्ने हो । हामीले हलिउड, बलिउडमा त्यो शैलीलाई देखेका छौं । कम्पनीभित्र को छ भन्ने कुरा मुख्य हुन्छ । जो अगाडि छ, उसको नाम राखेर झगडा नगरी लाने हो भने राम्रो हुन्छ’, छविराज भन्छन् ।
आधा दर्जनभन्दा बढी चलचित्र निर्देशन गरे पनि लेखक तथा निर्देशक विकासराज आचार्य ‘नाइँ नभन्नू ल’ सिरिजबाट दर्शकमाझ बढी चिनिए । यो सिरिजबाट बालकलाकार अनुभव रेग्मीलाई भित्र्याएका आचार्यको पनि आफ्नै समूह छ । ‘चलचित्र बनाउन समूह आवश्यक छ, किनभने समूहका सदस्यसँग जति बढी सल्लाह भयो, त्यति राम्रो रिजल्ट निस्कन्छ । मैले कमर्स पढ्दा शिक्षकले पाँच व्यापारी बसेर छलफल गर्‍यो भने छैटौं योजना वा धारणा निस्कन्छ भन्थे’, विकास खुल्छन्, ‘गुणस्तरीय कामका लागि समूह राम्रो हो । म त चलचित्र लेखन पनि पाँच–छ जना मिलेर गर्नुपर्छ भन्ने मान्यता राख्छु । यो चलन हलिउड, बलिउडमा चलेर आइरहेको छ ।’ विकास चलचित्रकर्मीलाई समूह–समूहमा मिलेर एउटै चलचित्र बनाए राम्रो परिणाम निस्कने सुझाव दिन्छन् ।

यस्ता छन् समूहहरू
अहिले झन्डै आधा दर्जन समूह नेपाली चलचित्र निर्माणमा क्रियाशील छन् । त्यस्ता समूहमा चलचित्रका निर्माता, निर्देशक, लेखक, छायाँकार, सम्पादकदेखि कलाकारहरूसमेत आबद्ध छन् । नेपाली चलचित्रमा डिजिटल प्रविधिको प्रवेशपछि समूहमा चलचित्र निर्माण गर्ने चलन बढ्दै गएको देखिन्छ । यी समूह खास गरी चलचित्रको सिरिज र सिक्वेल निर्माणमा सक्रिय छन् ।
हास्यकलाकारहरूको समूह बनाएर ‘६ एकान ६’ बाट निर्माण सुरु गरेका अभिनेता दीपकराज गिरी नेपाली चलचित्रमा स्टारडमको अभाव भएपछि नै समूहमा चलचित्र निर्माणको चेत आएको दाबी गर्छन् । ‘टिमवर्क भन्दै एकै जनाले मात्र काम गरिरहेको अवस्था थियो । हाम्रो बुझाइ पनि चलचित्र एक्लैले बनाउन सक्छ भन्नेमा थियो’, दीपकराज भन्छन्, ‘तर अवस्था त्यो होइन रहेछ । समूहमा जिम्मेवारी दिएर काम गराउन सके राम्रो उत्पादन सिर्जना गर्न सकिने रहेछ भन्ने उदाहरण हामीले ‘छ माया छपक्कै’सम्म आइपुग्दा देखाइसकेका छौं ।’
महसञ्चारबाट चलचित्र निर्माणमा सक्रिय अभिनेता हरिवंश आचार्य यतिखेर निर्देशक तथा लेखक प्रदीप भट्टराई तथा निर्माता रवीन्द्रसिंह बानियाँसँग मिलेर नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनी चलचित्र निर्माणको जिम्मेवारी एउटै मान्छले बोक्नु जोखिमपूर्ण हुने बताउँछन् । ‘एउटै मान्छेमा सबै भार थोपरियो भने उसको क्रिएटिभीटीमा असर पर्न सक्छ । समूहमा काम गर्दा त्यसको परिणाम जे–जस्तो आए पनि त्यसमा चित्त बुझाउन सकिन्छ’, हरिवंश भन्छन्, ‘समूहमा काम गर्दा पार्टनरसिपमा गर्न सजिलो हुन्छ, जसले गर्दा चलचित्रमा लगानी पनि कम हुने अवस्था आउँछ ।’
समूहमा काम गर्न रुचाउने निर्देशकमा प्रदीप भट्टराई पनि पर्छन् । मह सञ्चारमा रहेर लामो समय टेलिसिरियलको मुख्य सहायक निर्देशकको अनुभव सँगालिसकेका प्रदीपले चलचित्र ‘जात्रा’बाट चलचित्र निर्देशकीय यात्रा प्रारम्भ गरेका हुन् । त्यसयता उनले ‘शत्रुगते’ र ‘जात्रैजात्रा’ निर्देशन गरिसकेका छन् । समूहमा काम गर्दा त्यसमा आउने इनपुटले गर्दा राम्रो चलचित्र बन्ने बाटो खुला भएको उनी बताउँछन् । ‘नेपालमा समूहमा चलचित्र बनाउने संस्कार अझै बढ्दै जानुपर्छ । फरक–फरक सोच भएका मान्छे एकै ठाउँमा बस्यो भने गल्ती र कमजोरीलाई औंल्याएर त्यसलाई सुधार्न सकिन्छ’, उनी भन्छन् ।
गिरीका अनुसार औपचारिक रूपमा कुनै पनि चलचित्रकर्मीले समूह विभाजन गरेका छैनन् । ‘अनौपचारिक रूपमा भने स्वतः निर्माण भएका समूहका सदस्यमा जिम्मेवारी बाँडफाँड हुन्छ । पाँच जनाको समूहमा कसै न कसैको चित्त नबुझेको पनि हुनसक्छ । त्यसैले यसका सकारात्मक तथा नकारात्मक पक्ष उत्तिकै छन्,’ गिरी भन्छन् । भट्टराईको तर्क बेग्लै छ । उनी भन्छन्, ‘फरक–फरक सोच भएका मान्छे एकै ठाउँमा बस्यो भने गल्ती तथा कमजोरी औंल्याएर त्यसलाई सुधार्न सकिन्छ ।’ अभिनेता हरिवंश आचार्यको विचारमा समूहका सदस्यबीच कहिलेकाहीं राय नमिल्ने सम्भावनासमेत उत्तिकै रहन्छ । निर्देशक मिलन चाम्स पनि एउटै समूहमा आबद्ध भएर काम गर्दा जिम्मेवारी अलि कम हुने तर कहिलेकाहीं कुरा नमिल्दा केही समस्या आउन सक्ने बताउँछन् ।



समूहबाट अलग भएपछि धुर्मुस–सुन्तली
सामाजिक कार्यमा समेत सक्रिय अभिनेता सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले दीपकराज गिरी र दीपाश्री निरौलाको समूहमा रहेर चलचित्र ‘६ एकान ६’ तथा ‘वडा नम्बर ६’ सहकार्य गरे । दुई चलचित्रमा दीपक–दीपाको समूहमा रहेर काम गरेपछि उनी अभिनयकर्मलाई एकातिर थन्क्याएर सामाजिक काममा सक्रिय भए । अहिले आएर उनले आफैंले चलचित्र ‘सेन्टी भाइरस’ निर्माण गरेका छन् । धेरैले उनीहरू समूहबाट अलग्गिएको आशंका गरे । ‘हामी अलग्गिएका थिएनौं, सामाजिक काममा बढी व्यस्त भएका हौं । ‘६ एकान ६’ देखि अहिले ‘छ माया छपक्कै’ सम्म आउँदा उहाँहरूलाई मातृटिम मान्छु । म आफ्नै कारणले अलग्गिएको हो’, सीताराम भन्छन्, ‘हरेक चलचित्रमा आफू संलग्न रहँदा बस्ती निर्माण र अन्य सामाजिक काममा समय दिन नपाइने भइयो । हामी व्यस्तताका कारण आपसी सहमतिमै अलग्गिएका हौं ।’ उनले दीपक–दीपासँग सहकार्य गर्दा त्यहाँ सिकेको कुरालाई आफ्नो चलचित्र ‘सेन्टी भाइरस’मा लगाएको बताए ।

प्रदीप भट्टराईको समूह
मह सञ्चारमा लामो समय आबद्ध भएका युवा निर्देशक हुन्— प्रदीप भट्टराई । महसञ्चार समूहबाट बाहिरिएर उनले निर्देशन गरेको पहिलो चलचित्र हो— जात्रा । २०७३ साल कात्तिक २६ गते प्रदर्शन भएको उक्त चलचित्र व्यावसायिक रूपमा सफल भयो ।

धुर्मुस–सुन्तलीको समूह
त्यसो त सीताराम कट्टेल घुर्मुस तथा कुञ्जना घिमिरे पनि सानो पर्दाकै जमेका कलाकारहरू हुन् । उनीहरूले हास्यश्रृंखला ‘मेरी बास्सै’ मार्फत दर्शकको मन जितेका थिए । स्टेज कार्यक्रममा समेत उत्तिकै सक्रिय हुने यो जोडी २०७२ सालको भूकम्पपछि भने कलाकारितामा भन्दा समाजसेवामा बढी सक्रिय रहँदै आएको छ । रंगमञ्चका कार्यक्रममा फाट्टफुट्ट प्रस्तुत हुने धुर्मुस–सुन्तलीको जोडी यतिबेला भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा सक्रिय छ । तर, यति नै बेला उनीहरूको समूहले चलचित्र निर्माणमा पनि हात हालेको छ । उनीहरूले निर्माण गरेको पहिलो चलचित्र हो— सेन्टी भाइरस । आफ्नो समूहको पहिलो चलचित्रमा धुर्मुस–सुन्तलीले रामबाबु गुरुङलाई निर्देशकका रूपमा लिएका छन् भने दुवैले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरूको चलचित्रमा दयाहाङ राई तथा विल्सनविक्रम राई पनि मुख्य भूमिकामा छन् । यो समूहमा धुर्मुसका भाइ कुमार कट्टेल लेखकका रूपमा आबद्ध भएका छन् भने कट्टेलकै समूहका दीपक आचार्य पनि लेखकका रूपमा आबद्ध छन् । उता हास्य श्रृंखला भद्रगोल निर्माण र निर्देशन गरेर चर्चामा आएका कुमार कट्टेल, दीपक आचार्य र अर्जुन घिमिरेको समूह यतिबेला ‘सक्किगो नि’ शीर्षकको हास्यश्रृंखला निर्माण गरिरहेका छन् । उनीहरूको समूहले पनि निकट भविष्यमै ‘फनफनी’ शीर्षकको चलचित्र निर्माण गर्ने घोषणा गरिसकेको छ ।

मिलन चाम्सको समूह
पाँच वर्षअघिदेखि चलचित्र निर्माण तथा निर्देशनमा आएका मिलन चाम्सले चलचित्र ‘हँसिया’ र ‘ब्लाइन्ड रक्स’मा निर्माता निकेश लिम्बूसँग सहकार्य गरे । त्यो चलचित्रपछि अहिले आएर उनले निकेशसँगै मिलेर तेस्रो चलचित्र ‘गोर्खा वारियर’ को काम गरिरहेका छन् । अभिनयका हिसाबमा मिलनले चलचित्र ‘वीरविक्रम’ र ‘ह्याप्पी डेज’मा अभिनेता दयाहाङ राईसँग सहकार्य गरे । उनले अभिनेता नाजिर हुसेनसँग पनि चलचित्र ‘वीरविक्रम’ र ‘वीरविक्रम–२’ मा सहकार्य गरेका छन् । उनैले निर्देशन गरेका दुई चलचित्र ‘लिलिबिली’ तथा ‘बोबी’ भने व्यावसायिक रूपमा समेत सफल भए । बोबीमा उनले उमेश थापा र कविता गुरुङको जीवनीलाई चित्रण गरेका थिए । पछिल्लो पटक उनले बोबीकै सिक्वेल निर्देशन गर्ने घोषणा गरेका थिए, यद्यपि चलचित्रको निर्माण प्रारम्भ भएको छैन ।

दिनेश राउतको समूह
युवा निर्देशक दिनेश राउत प्रेमकथामा आधारित चलचित्र निर्माण गर्न सिपालु छन् । उनले विगतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठदेखि पछिल्लो समयमा विपिन कार्कीसँग सहकार्य गरिसकेका छन् । आठ वर्षअघि चलचित्र ‘आई एम सरी’ मा आर्यन सिग्देल तथा केकी अधिकारीलाई लिएर चलचित्र निर्देशनको क्षेत्रमा पदार्पण गरेका राउतले दोस्रो चलचित्र ‘नोभेम्बर रेन’ बाट सफलता हासिल गरे, जसमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ नै मुख्य भूमिका थिए । तेस्रो चलचित्र ‘क्लासिक’ मा पनि उनले आर्यन र नम्रतालाई नै दोहोर्‍याए । यही चलचित्रमार्फत उनले निर्माता सुवास गिरीसँग समेत सहकार्य गरे । निर्माता गिरीसँगै मिलेर उनले चलचित्र ‘पर्व’ समेत निर्देशन गरे, जसमा उनले नम्रता श्रेष्ठलाई पुनः मुख्य भूमिकामा लिए । अभिनेत्री नम्रता श्रेष्ठलाई आफ्नै समूहमा राख्न सफल निर्देशक राउतले अघिल्लो वर्ष निर्देशन गरेको चलचित्र ‘प्रसाद’ व्यावसायिक रूपमा समेत अत्यन्त सफल रह्यो । उक्त चलचित्रमा निर्देशक राउतलाई निर्माता सुवास थापाले साथ दिए । यतिबेला निर्देशक राउत निर्माता थापासँगै नयाँ चलचित्र ‘सेल्फी किङ’मा व्यस्त छन्, जसमा विपिन कार्की तथा लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् ।

चलचित्रकर्मीको आफ्नै असन्तुष्टि
निर्माता तथा निर्देशक आकाश अधिकारी नेपाली चलचित्रको वर्तमान अवस्थालाई सुधार्ने हो भने नेपाली कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘आफूलाई रिजर्भ गर्न नसक्नु, आफ्नो दिनचर्यादेखि सबै कुरा सामाजिक सञ्जालमा पोख्नु, अनावश्यक पारिश्रमिकको माग गर्नुजस्ता समस्याहरू कलाकारमा छ, यिनलाई नसुधारेसम्म नेपाली चलचित्र क्षेत्र उँभो लाग्न सक्दैन ।’ त्यसो त निर्देशक अधिकारीलाई नेपाली सेलिब्रेटीहरू अनुशासनमा नबसेकोमा पनि गुनासो छ । ‘सेलिब्रेटी भएपछि रिजर्भ बस्न सक्नुपर्छ,’ उनको गुनासो छ, ‘उठेको, हिंडेको, खाएको, मेकअप गरेको देखि लिएर हरेक कुरा सामाजिक सञ्जालमा अपलोड गरेपछि ती कलाकारलाई हेर्न दर्शक टिकट काटेर हलमा किन जाने ?’ त्यसो त निर्देशक अधिकारी भन्छन् । एक–दुई चलचित्र चल्दा–नचल्दै आफूलाई सुपरस्टार ठानेर जथाभावी चर्को पारिश्रमिक माग गर्ने कलाकारको रबैयाले गर्दासमेत दर्शकमा वितृष्णा जाग्दै गएको हो ।’
चलचित्रकर्मी नीर शाहले केही वर्षअघि नै चलचित्र क्षेत्रसँग सम्बन्धित एउटा तीतो यथार्थता पोखेका थिए । ‘नेपाली चलचित्र क्षेत्र अफ ट्र्याकमा जान थालेको छ,’ केही वर्षअघि उनले एउटा समारोहमा भनेका थिए, ‘हाम्रो चलचित्र क्षेत्र लिक छाडेर बाहिर गएको रेलजस्तो भएको छ । जुन रेल घिस्रन्छ मात्र, दौडन सक्दैन ।’
‘चलचित्र क्षेत्रले विभिन्न कालखण्डमा विभिन्न खालका सुविधा भोग्न पाएको छ, तर गुणस्तरीय रूपमा अगाडि बढ्न सकेन,’ नीर शाहको भनाइ थियो, ‘नेपाली चलचित्र क्षेत्रमा गुणस्तर प्राप्त हुन सकेन । खालि आकारमा मात्र ठूलो बन्ने काम भयो ।’

‘लुटॅ हुँदै बनेको क्रिएटिभ समूह
२०६८ साल पुस २९ गते प्रदर्शन भएको चलचित्र ‘लुट’ ले नेपाली चलचित्रको स्वरूप नै परिवर्तन गरिदियो । त्यसअघि व्यावसायिक रूपमा निकै फितलो रहेको चलचित्र क्षेत्रलाई ‘लुट’को प्रदर्शनले हलचल मच्चाइदियो । चलचित्र क्षेत्रमा हलचल मच्चाउने निर्देशक थिए— निश्चल बस्नेत । निश्चलले निर्माता माधव वाग्लेको सहकार्यमा निर्माण गरेको चलचित्र ‘लुट’ ले हरेक उमेरका दर्शकलाई चलचित्र हलसम्म डोर्‍यायो । निश्चलकै निर्देशनमा बनेको ‘लुट–२’ ले ‘लुट’ जत्तिको व्यावसायिक सफलता हासिल नगरे पनि निश्चललाई राम्रो निर्देशकका रूपमा भने स्थापित गराइदियो । ‘लुट’को सफलताले उचाइ चुमिरहेका बस्नेतलाई त्यही ताका चलचित्र क्षेत्रमा आएका निर्देशक रामबाबु गुरुङ तथा ‘लुट’ बाटै दर्शकमाझ स्थापित भएका दयाहाङ राईको साथ मिल्यो । उनीहरूलाई ‘लुट’कै हाकुकाले अर्थात् सौगात मल्लले पनि उत्तिकै साथ दिए । निश्चल, रामबाबु र दयाहाङको सक्रियतामा जन्मियो एउटा मौलिक चलचित्र—कबड्डी । मुस्ताङको रमणीय लोकेसन तथा मौलिक विषयवस्तुमा आधारित उक्त चलचित्रको व्यावसायिक सफलताले यी तीन चलचित्रकर्मीलाई अझ निकट बनायो । निर्देशक रामबाबु गुरुङले कबड्डीको सफलतालाई ‘कबड्डी कबड्डी’ मा पनि दोहोर्‍याए, जसमा सौगात मल्ल पनि भित्रिए । यही सिरिजको तेस्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा सौगात र निश्चल बाहिरिए पनि दयाहाङ राई मुख्य भूमिकामै प्रस्तुत भए । त्यसो त रामबाबुले निर्देशन गरेका अन्य चलचित्रहरूमध्ये पुरानो डुंगा तथा साइँलीलाई पनि दर्शकले मन पराए । यतिबेला उनी धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ को पोस्ट प्रोडक्सनमा व्यस्त छन् ।

आवरण

‘खर्च कम हुन्छ’

- साप्ताहिक संवाददाता
हरि वंश आचार्य, अभिनेता

समूहमा काम गर्न कत्तिको सजिलो हो ?
चलचित्र बनाउने भनेको ज्यादै गाह्रो काम हो । प्रोडक्सन, अभिनय, निर्देशनजस्ता सबै कामको जिम्मेवारी एउटै मान्छेले बोक्यो भने त्यो जोखिमपूर्ण हुन्छ । त्यसले उसको क्रिएटिभिटीमा पनि असर गर्छ । समूहमा मिलेर काम गरियो भने मीठो पाक्यो भने खुसी भएर बाँडेर खाने र नमीठो भयो भने पनि चित्त बुझाएर खान पाइन्छ । एक्लै काम गर्दा सिर्जनामा गुणस्तर नआउला भनेरै हामीले अहिलेसम्म महसञ्चारका सिर्जनालाई सामूहिक रूपमा निर्माण गरिरहेका छौं । हलिउड, बलिउडतिर आफूभन्दा विज्ञ मान्छेलाई हायर गरेर काम गराइन्छ । यहाँ सबै व्यावसायिक छैनन् । कतिपय स्थानमा आफू उपस्थित नभई कामै नहुने अवस्था छ ।

समूहमा काम गर्ने वातावरण कस्तो छ ?
नेपालमा अहिलेसम्मको अवस्था राम्रै छ । नेपालमा त हरेक कुरा मागेर गर्नुपर्छ । यहाँ विदेशमा जस्तो ठूलो स्टुडियो पनि छैन । जनसम्पर्कका आधारमा काम गर्नुपर्छ । जति नै ठूलो स्टार भए पनि उसले समूहमा मिलेर काम गर्ने वातावरण पनि बन्दै गएको छ । बाँडिएर काम गर्दा खर्च कम हुन्छ । सबैले आफ्नो विधाअनुसारको काम गर्दा लोड पनि धेरै छैन, तर कहिलेकाहीं समूहका सदस्यबीच राय नमिल्न सक्छ । यो विषयलाई छलफलबाट समाधान गर्ने गर्छौं ।

सामूहिक कामले महँगी घटाउन कत्तिको सहयोग गर्छ ?
वास्तवमा यस्तो कामले महँगीलाई केही हदसम्म घटाउँछ । अहिलेसम्म हामीले पार्टनरसिपमै काम गरिरहेका छौं । केही नयाँ सदस्यलाई पारिश्रमिक दिएर काम गर्छौं । बाँकी त सबै पार्टनरसिपमै हो । चलचित्रबाट आम्दानी भएको अवस्थामा त्यसलाई दामासाही बाँड्ने गर्छौं । समूहमा काम गरेपछि चलचित्रका लागि कर्पोरेट विज्ञापन माग्न पनि सजिलो हुन्छ । 

महजोडी समूह

मदनकृष्ण श्रेष्ठ, कलाकार/लेखक/निर्माता/निर्देशक
हरिवंश आचार्य, कलाकार/लेखक/निर्माता/निर्देशक
प्रदीप भट्टराई, निर्देशक/लेखक
किरण केसी, कलाकार, निर्माता
सूदन केसी, कलाकार/निर्देशक
मोहितवंश आचार्य, कलाकार 
राजाराम पौडेल, कलाकार 
नरेन्द्र कंसाकार, कलाकार 
रमा थपलिया, कलाकार 
आँचल शर्मा, कलाकार 
शिवहरि पौडेल, कलाकार 
रवि शर्मा, कलाकार

Page 19
आवरण

‘म राम्रा कलाकारको साथ छोड्दिनँ’

- साप्ताहिक संवाददाता
दीपेन्द्र के खनाल, निर्देशक

निर्देशक दीपेन्द्र के खनालले आफू कुनै पनि समूहमा नभएको स्पष्ट पारे । खनालले व्यवहारमा भने पहिलो चलचित्र ‘द युगदेखि युगसम्म’देखि पछिल्लो चलचित्र ‘आमा’सम्म प्रायः उस्तै–उस्तै निर्माता, कलाकार तथा प्राविधिकसँग काम गर्दै आइरहेका छन् । ‘द युगदेखि युगसम्म’का निर्माता अर्जुन कुमारसँग खनालले ‘चपली हाइट’ तथा ‘चपली हाइट–२’ मा सहकार्य गरे । खनालले अत्यधिक चर्चा पाएको चलचित्र ‘पशुपतिप्रसाद’मा अभिनेता खगेन्द्र लामिछानेसँग सहकार्य गरेका थिए । उक्त चलचित्रमा निर्देशक खनाल स्वयं निर्माता पनि थिए । लामिछानेसँग उनले ‘धनपति’ चलचित्रमा पनि सहकार्यजारी राखे । ‘लभ लभ लभ’ चलचित्रपछि भने उनको सहकार्य निर्मात्री शर्मिला पाण्डेसँग भैरहेको छ । पाण्डेसँगै मिलेर उनले चलचित्र ‘घर’ निर्माण गरे, प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आमा’मा पनि यी दुईजनाको सहकार्य छ । निर्देशक खनालले अभिनेत्री सुरक्षा पन्तलाई पनि आफ्नै समूहका राखेका छन् । ‘धनपति’बाट अभिनेत्री पन्त निर्देशक खनालसँग जोडिएकी थिइन् । त्यसयता उनले ‘घर’ तथा ‘आमा’मा खनालसँगै काम गरिन् । ‘म राम्रो कलाकारको साथ छोड्दिनँ,’ निर्देशक खनाल भन्छन्, ‘स्वभाव मिल्ने साथी कलाकारहरूसँग काम गर्दा मज्जा आउँछ ।’
समूहमा चलचित्र बनाउने शैलीलाई कसरी लिनुहुन्छ ? भन्ने साप्ताहिकको जिज्ञासामा निर्देशक खनाल भन्छन्– ‘म नितान्त कम्पनीसँग सहकार्य गरेर काम गरिरहेको छु । मेरो समूह छैन । कथाअनुसार कस्तो टिम बन्छ, त्यसै अनुसार काम गर्छु । अहिलेसम्म त्यसरी समूह बनाएरै काम गरेको छैन । अहिलेसम्मको अवस्था हेर्दा नेपालमा सिक्वेल र सिरिज बनाइरहनुभएका निर्माताहरूले समूहमा काम गरेको देखेको छु ।’ समूहमा काम गर्दा गाह्रो केही देख्नुभएको छ ? भन्ने अर्को एउटा जिज्ञासामा निर्देशक खनालको जवाफ छ– ‘नेपालमा त अहिले ट्रेन्ड नै छ, तर समूहमा मोनोटोनस हुन्छ कि जस्तो लाग्छ । जस्तो कि म नयाँ पात्र लिएर काम गर्न रुचाउँछु । समूहमा चाहिँ एउटै मान्छे दोहोरिरहने सम्भावना बढी हुन्छ, जसले गर्दा कथाको चरित्रअनुसार कलाकार फिट नहोला कि भन्ने जोखिम बढ्छ ।’

दीपेन्द्र के खनाल समूह
दीपेन्द्र के खनाल, निर्देशक/लेखक/छायाँकार
शर्मिला पाण्डे, निर्मात्री
माधव वाग्ले, निर्माता
अर्जुन कुमार, निर्माता
खगेन्द्र लामिछाने, अभिनेता/लेखक
सुरक्षा पन्त, अभिनेत्री
प्रकाश घिमिरे, अभिनेता
निरज कँडेल, छायाँकार
दीर्घ खड्का, सम्पादक

Page 20
आवरण

‘व्यक्तिगत स्वार्थ त्याग्न सक्नुपर्छ’

- साप्ताहिक संवाददाता

दीपकराज गिरी, अभिनेता

समूह बनाएर काम गर्ने सोच कसरी आयो ?
मैले चलचित्र ‘सुन्दर मेरो नाम’मा अभिनेताका रूपमा काम गरेको थिएँ । यो चलचित्र असफल भएपछि नेपाली चलचित्रमा स्टारडमको अभाव रहेछ भन्ने बुझें । चलचित्र निर्माण भनेको एक जनाको मात्र काम होइन, यो त टिमवर्क रहेछ । त्यो बेला हामी टिमवर्क भन्दै एकै जनाले मात्र काम गरिरहेका थियौं । सबैलाई जिम्मेवारी दिएर काम गर्न सके राम्रो उत्पादन दर्शकलाई दिन सकिन्छ भन्ने लागेर सामूहिक निर्माणको संस्कृति विकास गर्‍यौं । हामीले ट्रायलमा सुरु गरेको यो अभियानले सफलता पाएपछि अन्य चलचित्रकर्मीको पनि ध्यानाकर्षण गर्न सक्यौं ।

फाइदा र बेफाइदा के हुँदो रहेछ ?
सामूहिक कार्य भनेको एउटा दलजस्तै हो । एउटा परिवार हो । त्यो परिवारमा नयाँ–नयाँ सदस्य थपिन्छन्, जसले गर्दा सुनमा सुगन्ध हुन्छ । समूहका सदस्यमा जिम्मेवारी बाँडफाँड हुन्छ, तर कसैको मन दुख्छ कि भनेर केयरफुल पनि हुनुपर्छ । पाँच जनाको समूहमा कसै न कसैको चित्त नबुझेको हुन सक्छ । मैले एउटा कुरा के बुझें भने समूहमा नाच्नु र एक्लै नाच्नुचाहिँ अन्तर हुँदो रहेछ ।

समूहमा चलचित्र निर्माण गर्ने चलन अहिले बढेको हो ?
हामीले ‘६ एकान ६’बाट यस्तो अभियान सुरु गरेपछि पछिल्लो समयमा आएर उत्साहजनक रूपमा बढेको छ । यो राम्रो लक्षण हो ।

मेकिङ महँगो भएकाले हो कि ?
निश्चय नै मेकिङमा महँगीको अनुपात बढ्दो छ, तर महँगी बढ्यो भनेर आत्तिनुपर्ने अवस्था पनि छैन । समूहमा काम गरेर राम्रो उत्पादन दर्शकलाई दिन सक्यौं भने त्यसले राम्रो आम्दानी पनि दिनसक्छ ।

धेरै समूह हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना पनि त हुन्छ ?
समूहको काम भनेको आफ्नो समूहलाई स्थापित गराउनु हो । यो बेला सदस्यले व्यक्तिगत स्वार्थ त्याग्न सक्नुपर्छ । कहिले करोड कमाइएला, कहिले लाख मात्र कमाइएला । यस्तो अवस्थामा उत्साहित र हतोत्साहित हुनु हुँदैन ।

दीपक–दीपा समूह

दीपकराज गिरी, कलाकार/निर्माता/लेखक
दीपाश्री निरौला, कलाकार/निर्देशक
जितु नेपाल, कलाकार/निर्माता
केदार घिमिरे, कलाकार/निर्माता
दीपेन्द खनियाँ, निर्माता
कविराज गहतराज, कोरियोग्राफर
विपिन मल्ल, सम्पादक
पुरुषोत्तम प्रधान, छायाँकार
दीपक शर्मा, संगीतकार
वसन्त थापा, संगीतकार
हरि हुमागाईं, छायाँकार
अभिमन्यू निरवी, लेखक
ताराचन्द्र बजगाईं निशान, निर्माता
सुमन गिरी भान्जा, निर्माता
केशव न्यौपाने, निर्माता

Page 21
आवरण

‘सेयर बेसिसमा काम गर्नुको विकल्प छैन’

- साप्ताहिक संवाददाता
प्रदीप भट्टराई, निर्देशक

समूहमा काम गर्दा कस्तो अनुभव हुँदो रहेछ ?
चलचित्र भनेको एक्लै बनाउँछु भनेर हुँदैन । कसैले एक्लै चलचित्र बनाउँछु भन्यो भने सम्झनुहोस् कि त्यो मान्छे तपाईंसँग झूट बोलिरहेको छ । चलचित्र भनेको त टिमवर्क हो । चलचित्र बुझ्ने मान्छे मात्र प्रायः समूहको काममा बस्छन् । सबैको इनपुट आउने भएकाले पनि प्रायः चलचित्र सफल हुन्छन् ।

राम्रो र नराम्रो पक्ष के पाउनुभयो ?
मेरो बुझाइमा राम्रो र नराम्रो भनेको चलचित्रको आम्दानीमै जोडिन्छ । सानो केकलाई एक्लै खाने कि ठूलो केक धेरै भाग लगाउने भन्ने नै फाइदा–बेफाइदामा जोडिने कुरा हो । सानो केक एक्लै खाँदा मजा नआउन सक्छ, जति ठूलो केक भाग लगाएर खाइन्छ । धेरै मिलेर काम गर्दा पैसा कम आउने मात्र सम्भावना हुन्छ ।

चलचित्रमा सामूहिक सहकार्य बढेको हो ?
पक्कै पनि बढ्दै गएको छ । मलाई लाग्छ, यो संस्कार अझै बढ्नुपर्छ । तर जति बढ्नुपर्ने हो त्यति बढेको छैन । समूह छुट्टिँदा त्यसको असर चलचित्र क्षेत्रलाई पर्छ भन्ने उदाहरण हामीले देखिसकेका छौं । फरक–फरक सोच भएका मान्छे एकै ठाउँमा बस्यो भने गल्ती–कमजोरी औंल्याएर त्यसलाई सुधार्न सकिन्छ ।

समूहमा चलचित्र बन्नुपर्ने कारण के हो ?
यसका धेरै कारण छन्, तर मुख्य कुरा पछिल्लो समय चलचित्रमा बढेको महँगीले पनि हो । ‘छक्कापन्जा’ टिमले पारिश्रमिक नलिई काम गर्दा पनि चलचित्र निर्माण लागत झन्डै २ करोड छुन्छ । अब सेयर बेसिसमा काम गर्नुको विकल्प छैन । सबै चलेका कलाकारले आफ्नो दम्भ छाडेर सेयरमा काम गर्ने वातावरण बनाउनुपर्छ ।

समूहबाट के–के काम हुन्छ ?
समूहमा विभिन्न किसिमका विज्ञ होइन्छ । मार्केटिङ, क्रिएटिभ, प्रोडक्सन, थिएटर पुर्‍याउने, लेखक, कास्टिङलगायतका क्षेत्रमा विज्ञ व्यक्ति हुन्छन् । उनीहरूले आफ्नो आइडिया सार्वजनिक गरेर त्यसमा कन्भिन्स गराउन सक्छन् ।

भट्टराई समूह

प्रदीप भट्टराई, निर्माता/निर्देशक
रवीन्द्रसिंह बानियाँ, अभिनेता/निर्माता
रवीन्द्र झा, अभिनेता
वर्षा राउत, अभिनेत्री
विपिन कार्की, अभिनेता

Page 22
आवरण

‘समूह–समूहबीच प्रतिस्पर्धा हुनु राम्रो हो’

- साप्ताहिक संवाददाता
निश्चल बस्नेत, निर्माता/निर्देशक

तपाईंहरूमा टिमवर्कको सोच कसरी आयो ?
चलचित्र बनाउने भनेपछि टिम हुनैपर्छ । चिनजानको र कुरा मिल्ने टिम भयो भने काम गर्न सजिलो हुन्छ । कन्सेप्टभन्दा पनि सुरुमा गर्न लाग्दाको फेजमा हामीले के गर्न लागेको हो, हामीलाई थाहा हुनुपर्छ । टिममा बस्ने सबै जनालाई आफ्नो जिम्मेवारी के हो भन्ने थाहा हुनुपर्छ । त्यसो भयो भने हामीले एउटै चिजका लागि काम गरिरहेका छौं भन्ने आभास हुन्छ ।

फाइदाचाहिँ के देख्नुभयो ?
सबैले इक्वेल एफोर्ड लगाउँछ । आफ्नै चलचित्र हो जस्तो हुन्छ । चलचित्रमा काम गरिरहँदा काम मात्र हुँदैन, आफ्नै जस्तो हो भन्ने फिलिङमा काम गर्नु र काम मात्रै त हो नि भनेर काम गर्नुमा अलिकति फरक पर्छ । आफ्नोपनको विकास हुन्छ ।

बेफाइदा ?
कसैलाई केही कुरामा चित्त नबुझ्दाखेरि त्यो साइडबाट कामहरू बिग्रिने सम्भावना हुन्छ, जसले गर्दा आर्थिक पक्षमा पनि असर पर्न सक्छ । एउटा सानो गल्तीले गर्दा ठूलै समस्या उत्पन्न हुने र अन्योल आउँछ । अहिले पनि काम गर्दा अलिअलि सानोतिनो समस्या त भइरहेकै हुन्छ । त्यसलाई व्यवस्थापनचाहिँ कसरी गर्न सकिन्छ भन्ने कुरामा भर पर्छ ।

चलचित्र क्षेत्रमा भएको महँगी घटाउन सामूहिक कामले सहयोग गर्छ र ?
महँगी घटाउनभन्दा पनि नेपालमा जे चिज पनि ह्वात्तै बढ्छ । त्यो रेटलाई कसैले पनि नियन्त्रण गर्न सक्दैन । जुनै पनि वस्तुको मूल्य स्वेच्छाले नै बढिरहेको छ । चलचित्र मेकिङमा पनि त्यही भइरहेको हो । जसले गर्दा करोडभन्दा मुनि त चलचित्र नै नबन्ने भइसक्यो । डे टु डे सामानको मूल्य बढ्दै गएपछि त्यो पनि बढ्नुपर्‍यो । सबैको लाइफस्टाइल एउटै किसिमको हुँदैन । किन्नै पर्‍यो किनेपछि सबैले बढाइहाल्छ भन्ने सोच बसिसक्यो ।

अस्वस्थ प्रतिस्पर्धा बढाउने सम्भावना छ ?
त्यो त मान्छेको स्वभावमा भर पर्छ । को कत्तिको प्रतिस्पर्धी छ भन्ने कुरा नै मुख्य हो । प्रतिस्पर्धा हुनु राम्रो हो । मचाहिँ मेरो राम्रो गर्छु भनेर सोच्नु राम्रो हो । अर्काको नराम्रो होस् भनेर सोच्नुचाहिँ अर्कै पाटो हो । आफ्नो राम्रो गर्नुपर्छ भनेर नै सबैले सोच्नुपर्छ । अर्काको नराम्रो होस् भनेर चिताउनु पनि नराम्रै कुरा हो ।

समूहबाट के–के काम हुन्छ ?
कसले के गर्ने हो भन्ने कुरा टिम बसेर डिसाइड गर्ने हो । प्रोडक्सन साइड, क्रिएटिभ साइड, म्यानेजमेन्ट साइड हुन्छ । क्रिएटिभ मान्छेलाई अरूले क्रिएटिभ पार्टमा दक्खल नदिने, व्यवस्थापनको हिसाबको कुरा हुन्छ । म्यानेजमेन्टले फन्डिङलाई कसरी सुचारु राख्ने, प्रोडक्सनले भएको फन्ड कसरी सही तरिकाले ओभर एक्सटेन्ट नगरीकन क्रिएटिभ डिपार्टमेन्टलाई काम गर्न सजिलो बनाउने भन्ने प्रक्रियाहरू नै हो । मिलेर गर्दा रेटको कुरालाई लिएर अलिकति तलमाथि गर्न सकिन्छ । सहभागिता बढ्छ भन्न सजिलो हुन्छ । जिम्मेवारी दिएपछि सम्झाइरहनु पर्दैन । सबैलाई आफ्नो जिम्मेवारीका बारेमा थाहा हुन्छ ।

निश्चल, रामबाबु र दयाहाङ समूह

रामबाबु गुरुङ, निर्देशक/लेखक
निश्चल बस्नेत, निर्देशक/अभिनेता/निर्माता
दयाहाङ राई, अभिनेता
सौगात मल्ल, अभिनेता
स्वस्तिमा खड्का, अभिनेत्री
माओत्से गुरुङ, अभिनेता
मेनुका प्रधान, अभिनेत्री
रिश्मा गुरुङ, अभिनेत्री
विजय बराल, अभिनेता
बुद्धि तामाङ, अभिनेता

Page 23
Page 24
टिप्पणी

गुटबन्दी फाइदा कि बेफाइदा ?

कसैले गुट बनाएर अनुचित काम गर्छ वा समग्र कामको गुणस्तर नै खस्काउाछ भने त्यो आपत्तिको विषय हो ।
- यज्ञश

फिल्म मेकिङलाई धेरैले टिमवर्कका रूपमा अर्थ्याउने गरेका छन् । हुन पनि धेरै वटा विधा र विभागमा काम भएपछि मात्रै फिल्म बन्छ । सुटिङ जानुअघि एक चरण, सुटिङमा एक चरण र पोस्ट प्रोडक्सन गरी तीन चरणमा बन्ने फिल्ममा धेरै जनशक्ति प्रयोग भएको हुन्छ । फिल्मको लेखन, पार्श्वसंगीत, प्रोडक्सन डिजाइन, छायांकन, सम्पादन, अभिनय र निर्देशन यतिलाई मुख्य विधा मानिन्छ । यी विधामा काम गर्ने मानिसहरू एक–अर्काको खुबी र रुचिसाग परिचित भएको खण्डमा काम गर्न सजिलो हुन्छ भनिन्छ । अर्का एकथरी चाहिँ फिल्म निर्देशकको विधा हो, यसमा अरु प्राविधिक कलाकार को हुन्छन् भन्ने गौण हुन्छ, फिल्म निर्देशकले जस्तो चाह्यो त्यस्तै बन्छ भन्ने पनि छन् ।
फिल्मलाई टिमवर्क मान्ने हो भने मिल्दो टिममा काम गर्दा बेफाइदा के छ ? मन मिल्दा मानिसहरू, जसलाई एक–अर्काको शक्ति र कमजोरी थाहा छ, तिनले लामो समय सँगै काम गर्दा समूहको निर्माण हुन्छ भने त्यसले हानी के गर्छ ? बेलाबेला फिल्ममा गुटबन्दीको कुरा आउँदा यस्ता प्रश्न उठ्ने गर्छन् ।
फिल्ममा मात्र होइन, समाजका जुनसुकै क्षेत्रमा पनि कुरा मिल्ने मानिसहरू एक ठाउँमा आउनु स्वाभाविक हो । जसलाई जोसँग काम गर्न सजिलो लाग्छ, उसैलाई रोज्नु पनि सामान्य हो । समस्या चाहिँ तब सुरु हुन्छ, जब चिनेको वा सजिलोको नाममा उसलाई नआउने काम पनि लगाइन्छ वा कसैको क्षमताभन्दा बढी भूमिका दिइन्छ । र, यसकै कारण कोही साँच्चिकै क्षमतावान् मानिस पाखा परेको छ भने त्यो पनि समस्या हो । यसका अलावा उस्तै सोच भएका मानिसले समूह वा गुटै बनाउँछन् भने पनि त्यो ठूलो आपत्तिको विषय होइन । तर, कसैले गुट बनाएर अनुचित काम गर्छ वा समग्र कामको गुणस्तर नै खस्काउँछ भने चाहिँ त्यो आपत्तिको कुरा हो ।


संसारका ठूला फिल्म उद्योगहरू हलिउड–बलिउडमा पनि निर्देशक, छायाकार, सम्पादक र कलाकारहरूको यस्तो समूह बनेको देखिन्छ । र, ती समूहले साँच्चिकै शानदार काम गरेका भेटिन्छन् । बलिउडमा निर्माता विधुविनोद चोपडा, निर्देशक राजकुमार हिरानी र छायाकार विनोद प्रधानको यस्तो समूह निकै चर्चित छ ।
बलिउडमा अहिले पनि यशराज र धर्माजस्ता ठूला प्रोडक्सन हाउसहरूले केही निर्देशक, कलाकार र प्राविधिकहरूलाई आफ्नै मात्र काम गर्ने जसरी राखेका छन् । अझ अहिले त कतिजनासँग एकैचोटी पाँच सातवटा फिल्मको कन्ट्याक्ट गरिएको हुन्छ, जसको काम नसकिन्जेल ती प्राविधिकले अरूको काम गर्न पाउँदैनन् ।
हलिउडमा पनि स्टिवल स्पिलवर्गले कुनै बेला टम ह्यांक्स र पछि लियोनाड्रो डिक्याप्रियोसँग त्यस्तै समूह बनाएका थिए । मार्टिन स्कोरसेजी र रोबर्ट डि निरोको जोडी निकै चर्चित छ । क्वन्टिन टोरन्टिनो र उमा थुरम्यानको जोडी पनि यस्तै थियो । कतिपय निर्देशकहरू यस्ता हुन्छन्, जसले साधै एउटै सिनेम्याटोग्राफरसँग काम गर्छन् । यसपटक ओस्करमा उत्कृष्ट फिल्म, निर्देशक र सिनेम्याटोग्राफर आदिमा मनोनीत फिल्म १९१७ कै उदाहरण लिऊँ । यसका निर्देशक साम मेन्डिसका प्रायः सबै चर्चित फिल्मका सिनेम्याटोग्राफर एकैजना छन्, रोजर डियकिन्स । मेन्डिसका १९१७, स्काइफल र रेभुलुसनरी रोडका सिनेम्याटोग्राफर यिनै रोजर हुन् ।


प्रसिद्ध चिनियाँ निर्देशक झाङ यिमुका सातवटा फिल्ममा मुख्य भूमिकामा अभिनेत्री गोंग ली थिइन् । उनीहरूको जोडी चर्चित थियो । यसलाई गुटबन्दी भनेर खारेज किन गर्न मिल्दैन भने उनीहरू मिलेर सिनेमामा कलात्मकताको खोजी गरेका थिए । गोंग लीको अभिनय क्षमताले यिमुको फिल्मलाई थप जीवन्त बनाइदिएको थियो । पल थोमस एन्डरसनका दिअर विल बि ब्लड र फ्यान्टम थ्रेड दुई भिन्न स्वाद र शैलीका फिल्म हुन् । तर, यी दुवैलाई जीवन्त बनाउने काम अभिनेता ड्यानियल डे लुइसले गरेका छन् । यसैले यसलाई उनीहरूको गुट भन्न मिल्दैन ।
मुख्य कुरा त्यो सहकार्य, एकता, समूह वा गुटले सिर्जना गरेको फिल्म कत्तिको राम्रो छ भन्ने हो । नेपालमा निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको जोडी वा दीपकराज गिरी, दीपाश्री निरौलाको जोडीलाई उदाहरणका रूपमा लिन सकिन्छ । धेरै वटा फिल्ममा काम गरिरहँदा पनि यी जोडीले आफ्नो कामको स्तर कायम राख्न सकिरहेका छन् कि छैनन् ? यिनीहरूको सहकार्यले फिल्मलाई फाइदा गरेको छ कि छैन ? र, साह्रै नै नसुहाउँदो भूमिकामा त उनीहरूले साथी वा समूह भएका कारण कसैलाई काम दिइरहेका छन् कि ? यो चाहिँ हेर्न सकिन्छ । बाँकी कुरामा कोसँग काम गर्न सजिलो हुन्छ वा मन लाग्छ, छान्ने अधिकार सबैसँग रहन्छ ।
बलिउडमा एक समय यस्तो थियो, सलिम खान र जावेद अख्तर दुईजना फिल्म लेखक फिल्ममा निर्देशकदेखि कलाकारसम्म छान्नसक्ने हैसियतमा थिए । फिल्मको पोस्टरमा निर्देशकभन्दा ठूलो अक्षरमा लेखकको नाम छापिन्थ्यो । यस्तो किन थियो भने, उनीहरूले लेखेका फिल्म राम्रोसँग चलिरहेका थिए । अमिताभ बच्चनदेखि अमजद खानसम्मलाई स्टार बनाएको श्रेय उनीहरूलाई दिइन्छ । उनीहरूले लेखेका करिब एक दर्जन फिल्ममा अमिताभ बच्चन हिरो थिए । त्यसबखत अन्य हिरो नभएर सबैमा बच्चनलाई लिइएको होइन । कारण, उनी ती भूमिकामा फिट हुन्थे । यदि फिट थिएनन् भने ती फिल्म फ्लप हुने थिए ।
त्यसैले सवाल कसको गुटमा को छ वा कसले कस्तो गुट बनाएको छ भन्ने होइन । सवाल त्यसले फिल्मको गुणस्तरलाई हानी गरेको छ कि फाइदा भन्ने हो । यदि फाइदा गरेको छ भने ठीक छ, हानी गरेको छ भने आलोचकहरूले त्यसलाई औंल्याइदिनु आवश्यक छ ।
फिल्म उद्योग ग्ल्यामरस भएकाले यसमा धेरैको आकर्षण हुनु स्वभाविक हो । एकातिर नेपोटिज्मको सिकार यो हुन्छ भने अर्कातिर पावर पोलिटिक्सको पनि । नेपाली फिल्मका सन्दर्भमा अहिले समीक्षा गर्नुपर्ने कुरा चाहिँ के हो भने फिल्मको निरन्तर गिर्दो सफलताको ग्राफमा यो गुटबन्दी र समूहहरूको भूमिका कति छ ? के कुनै गुट बनेका कारण वा गुटले कसैलाई च्यापेका कारण फिल्मको गुणस्तर घटिरहेको छ ? कुनै कमसल प्राविधिक वा कम क्षमता भएका कलाकारले धेरै स्थान पाएर बिगारिरहेको छ कि ? त्यस्ता उदाहरण कति छन् ? हेर्नुपर्ने चाहिँ यहाँनेर हो ।

Page 25
फेसन

प्लस साइज डिजाइन

मोटो शरीर हुनेका लागि बजारमा पहिरन फेला नपर्ने समस्याका कारण रंगकर्मी लुनिभा तुलाधर ॅप्लस साइज फेसन डिजाइनर’ हुन चाहन्छिन्
- सिर्जना दुवाल श्रेष्ठ

सामान्यतः मोटोपनलाई सुन्दर मानिँदैन । बढ्दो मोटोपनलाई स्वास्थ्यका हिसाबले जति चिन्ताको विषय मानिन्छ, यसलाई शारीरिक सौन्दर्य तथा व्यक्तित्वसँग पनि त्यसरी जोडेर हेर्ने गरिन्छ । स्वस्थ, फुर्तिलो र छरितो ज्यानलाई आकर्षक मानिन्छ । यसकारण कतिपय महिला मोटोपनमा हीनताबोध महसुस गर्छन् । तर, मोटो हुनु आफैंमा नराम्रो होइन । अहिले बजारमा पहिरन र फेसनका हिसाबले विभिन्न थरीका पहिरन पाइन्छन् । मोटो शरीर हुनेका लागि पनि सुहाउँदो र आकर्षक पहिरनहरू पाइन्छ ।
पहिरन नसुहाएजस्तो लाग्दा त्यसले व्यक्तिको आत्मविश्वासमा कमी ल्याउँछ । अरूले केही भन्लान् कि भन्ने आशंकाले मनमा ग्लानि पैदा हुन्छ । आफूलाई नसुहाउने पहिरनले जो–कोहीलाई पनि मानसिक तनाव दिनु स्वाभाविक हो । यस्तो समस्या दुई कारणले हुन्छ— आफ्नो फिगरअनुसारको पहिरन छनोट नभएर तथा अर्को पहिरनको उचित छनोट गर्न नसक्दा । फिगर प्राकृतिक कुरा हो र हरेक व्यक्तिको आ–आफ्नै किसिमको फिगर हुन्छ । शरीरअनुरूप कस्तो पहिरन छनोट गर्ने र कसरी लगाउने भन्ने कुरा मुख्य हो । फेसन डिजाइनर युवी थापा भन्छन्, ‘हरेक व्यक्तिले आफ्नो शरीरअनुसार सुहाउँदो पहिरन छनोट गर्न सक्नुपर्छ, जस्तोसुकै शरीरमा पनि मिलेको पहिरन लगाउँदा आकर्षक देखिन्छ ।’

प्लस साइजलाई फेसन टिप्स

रश्मि तन्डुकार, फेसन डिजाइनर, सबाह नेपाल

  • अन्डरगार्मेन्ट फिटिङ र राम्रो क्वालिटीको हुनुपर्छ, अन्यथा पहिरनको सेप नमिलेर जीउ अझ भद्दा देखिन्छ । 
  • सपिङ गर्दा फरक साइज अर्थात् ठूलो–सानो साइज पनि प्रयोग गरेर हेर्नुपर्छ । सधैं लगाइरहेको भन्दा अर्को साइज आफूलाई अझ राम्रोसँग फिट हुन सक्छ ।
  • मोटा महिलाले ठूला प्रिन्टका फेब्रिक छान्नु हुँदैन । सकभर स–साना बुट्टा नै छान्नुपर्छ । बुट्टाको प्लेसमेन्ट जस्तोसुकै भए पनि आँखामाथिबाट तल फ्लो हुने खालको अर्थात् भर्टिकल हुनुपर्छ । यसले बडीको सेपलाई स्लिम लुक्स दिन्छ । चारपाटे तथा जिक ज्याक आकारको कपडा छनोट गर्नु हुँदैन । 
  • कालो कलरले मात्र स्लिम देखाउने विश्वासबाट अघि बढेर अन्य ब्राइट कलर पनि प्रयोग गर्नु उपयुक्त हुन्छ । सकेसम्म एउटै कलरको पहिरन लगाउनुपर्छ । दुई–तीनवटा कलरका पहिरन लगाउँदा मोटो र होचो देखिन्छ । 
  • कपडाको क्वालिटीमा सम्झौता गर्नु हुँदैन । लाइक्राजस्ता पहिरन जीउमा टाँसिन्छ । यस्ता जीउमै टाँसिने कपडा छान्नु हुँदैन ।
  • भी नेकका पहिरनले अग्लो र स्लिम देखाउँछन् ।
  • मोटी महिलाले लेगिन्स लगाउँदा त्यसले अझ भद्दा देखाउँछ । 
  • रेडिमेड पहिरनको तुलनामा डिजाइनरसँग सल्लाह गरी आफ्नो सेप अनुकूल पहिरन तयार गराउँदा फिट र स्लिम लुक्स प्राप्त गर्न सकिन्छ । 
  • प्लस साइजका प्रायः महिलाहरूको वेस्ट र हिप बराबर हुन्छ । त्यसैले कम्मर र हिप डिफाइन्ड गर्न बेल्टसमेत लगाउनु उपयुक्त हुन्छ । यसमा बेल्ट लुज भए पनि केही फरक पर्दैन ।
  • चुज पाइन्ट नलगाई फ्लेयर भएको पाइन्ट लगाउनुपर्छ । यसले अग्लो देखाई स्लिम प्रतीत गराउँछ ।
  • मोटा महिलाहरूले प्रायः एसेसरिज लगाउँदैनन् तर प्लस साइजकाहरूले एक्सेसरिजको प्रयोग गर्नु राम्रो हुन्छ । यसले अरूको ध्यान एसेसरिजमा केन्द्रित गर्छ, फिगरमा धेरैको ध्यान जाँदैन । 
  • धेरै फ्लेयर भएको वा टाइट स्कर्ट नलगाई एलाइन ड्रेस लगाउँदा बढी मोटोपन देखिन पाउँदैन भने चोलीमा ज्वाइन पहिरन नलगाई सीधा फ्लो भएको पहिरनले आँखा ब्रेकडाउन हुँदैन र स्लिम देखिन्छ ।
  • ब्लाउजमा बोट नेक लगाउँदा भद्दा देखिने हुँदा भी नेक छान्नु उपयुक्त हुन्छ ।
  • पेन्सिल स्कर्ट नलगाइ फ्लेयर स्कर्ट लगाउनुपर्छ । पेन्सिल स्कर्टले हिप ठूलो देखिन्छ । स्कर्टको लम्बाइ घुँडासम्म मात्र हुनुपर्छ । घुँडा मुनिसम्मको स्कर्टले मोटो देखाउँछ ।

पार्टी वेयरका लागि

एलिना श्रेष्ठ, फेसन डिजाइनर, अकल्प बुटिक

सारीबाहेक लङ गाउन, अनारकली, लेहेंगा चोली, लङ कुर्ती वा स्कर्ट आफ्नो फिगरअनुसार डिजाइन गराई लगाउन सकिन्छ । लङ गाउन जहिले पनि प्लेन कपडामा तयार गराउनुपर्छ । प्लेन कपडामा हल्का बोर्डर हुनुपर्छ ।
लेहेंगा–चोलीमा पनि सानो बोर्डर भएको हुनु उपयुक्त हुन्छ । यदि मोटोपनका साथै हाइट धेरै भए बोर्डर ठूलो हुनुपर्छ । यसमा लामो चोली पनि बनाउन सकिन्छ । पेट भएकाहरूले
हाई बेस्ट लेहेंगा लगाउँदा
राम्रो देखिन्छ । लेहेंगा होस् वा गाउन खास गरी कलर कम्बिनेसनमा ध्यान दिनुपर्छ । भद्दा कपडा नछानी प्लेन जर्जेट, सिफनमा पहिरन डिजाइन गराउने हो भने स्टाइलिस देखिन सकिन्छ ।
अनारकली बनाउँदा चोली सकेसम्म नछुटाई बनाउनुपर्छ । अनारकली पनि प्लेन कपडाकै राम्रो हुन्छ । त्यसमा पनि सुरुवाल नलगाउने गरी तयार पारिएको गाउन स्टाइलको अनारकली उपयुक्त हुन्छ ।
पार्टीवेयरमा लङ कुर्ती पनि लगाउन सकिन्छ । स्टाइलका लागि प्लेन कपडामा इम्ब्रोइडरी गराएर तल सोही कलरको सरारा वा फ्लेयर पाइन्ट लगाउन सकिन्छ ।
मोटो शरीर भएकाहरूले सधैं प्लेन कपडामा हल्का डिजाइनका साथै कलर कम्बिनेसनमा ध्यान पुर्‍याउनु जरुरी हुन्छ ।

अनावश्यक भागमा बढी ध्यान नदिने
कहिलेकाहीँ आफूलाई मन नपरेको शरीरको भाग लुकाउन मानिसहरू बढी समय खर्चन्छन् । यसले समस्या कम गर्नुको साटो समस्या भएको अंग अझ बढी हाइलाइट हुन्छ । कसैलाई आफ्नो हिप मन पर्दैन भने ठूल्ठूला पकेट भएका वा प्रिन्ट गरिएका जिन्स प्रयोग गर्नु हुँदैन ।

सेप वेयरको प्रयोग
शरीरलाई स्लिम देखाउन सेपवेयर तथा स्लिम बेल्टको प्रयोग प्रभावकारी हुन्छ । सेपवेयर तथा स्लिमले शरीर स्लिम तथा फिट देखिन्छ र जस्तोसुकै लुगामा पनि आकर्षक देखाउन सहयोग गर्छ । पेटको बोसो तथा हिपको साइज कम गर्न पनि सेपवेयरको प्रयोग उपयोगी सावित हुन्छ ।

आरामदायक जुत्ता छनोट गर्ने
शरीरलाई स्लिम तथा आकर्षक देखाउन जुत्ताको ठूलो भूमिका हुन्छ । सही जुत्ताको छनोटले शरीर स्लिम देखिन्छ । छालाको रंगअनुसार जुत्ता छान्नुपर्छ । त्यस्तै, हल्का खैरो, खरानी, न्युड तथा छालाअनुकूल रंग पनि उपयुक्त विकल्प हुन सक्छन् । एंकल स्ट्राप भएका जुत्ता प्रयोग नगरेकै बेस हुन्छ, किनभने यस्ता जुत्ताको प्रयोगले अग्लो देखिनुको सट्टा अझ होचो देखिन सकिन्छ ।

 

लुनिभा तुलाधर, रंगकर्मी

८ेढ दशकअघि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘पवनकली’ मार्फत चर्चा कमाएकी लुनिभा अहिले रंगकर्मीका रूपमा दर्शकहरूको मन जित्न सफल छिन् । उनी किशोरावस्थादेखि प्लस साइजकी छिन् । स्कुल–कलेज पढ्दा उनको कम्मर २४ र थाई ३२ भएकाले आफूले लगाउन मिल्ने जिन्स फेला पार्न सम्भव थिएन । सबैले जिन्स लगाएको देख्दा उनलाई पनि जिन्स लगाउने रहर लाग्थ्यो । त्यसैले केटाहरूको जिन्स किनेर आफ्नो साइजमा मिलाएर लगाउँथिन् ।
लुनिभा भन्छिन्, ‘त्यतिबेलाको तुलनामा अहिले प्लस साइजका लागि विभिन्न ब्रान्डका स्पेसल पहिरन उपलब्ध हुन थालेका छन् भने बुटिकहरूले पनि विशेष डिजाइन गरी दिने हुँदा त्यस्तो समस्या भने कमै छ ।’ अहिले पनि उनलाई ब्राको समस्या भने छ । लुनिभालाई मिल्ने ब्रा नै नपाइने हुँदा लुनिभाको सपना छ— प्लस साइजको ब्रा डिजाइनर बन्ने । लुनिभाका लागि विदेशमा रहेका दिदीभाइ तथा साथीहरूले नै पहिरन पठाइरहेका हुन्छन् । त्यसबाहेक उनी सिटी सेन्टर तथा वर्ल्ड ट्रेड सेन्टरस्थित ओमनियाबाट पहिरन खरिद गर्छिन् ।
लुनिभा बढीजसो क्वाटर स्लिभ, माथि ओपन तथा नीलेन्थ स्कर्ट लगाउँछिन् र त्यही आफूलाई सुहाएको महसुस गर्छिन् । प्लस साइज भएकै कारण उनी पेट देखिने, टाइट पहिरन लगाउँदिनन् भने मोटोपनका कारण प्रेगनेन्सीमा आएको स्ट्रेच मास्कले गर्दा बिकिनी लगाउने आँट पनि उनमा छैन ।

Page 26
संगीत

स्टुडियो धान्नै धौ–धौ

- महेश तिमल्सिना

एवन म्युजिसियन स्टुडियो खुलेको ११ वर्ष भयो । ७ वर्षअघिसम्म स्टुडियोमा गीत रेकर्डिङ गराउनेको लाइन लाग्थ्यो, तीन महिनाअगावै पालो कुनुपर्थ्यो । तर, अहिले यहाँ सुनसान छ । त्यतिबेला हरेक कलाकारले वर्षमा कम्तीमा एउटा एल्बम निकाल्थे, जसले गर्दा एरेन्जर, रेकर्डिस्टलगायतका थुप्रै म्युजिसियनले काम पाउँथे । अहिले भने एल्बम निकाल्ने चलन हराएसँगै स्टुडियोहरूको अवस्था नाजुक बनेको सञ्चालक किशोर थापा बताउँछन् ।
‘यतिबेला रेकर्डिङ स्टुडियोहरू सौखिनहरूले धानिरहेका छन्,’ थापा भन्छन्, ‘जसले अलि–अलि पैसा कमाए, अनि नामका लागि भए पनि गीत–संगीतमा लगानी गरौं है भन्नेहरूले स्टुडियोलाई चलायमान गराइरहेका छन् ।’ धेरैजसो रोजगारीका लागि साउदी, कतार, दुबई, मलेसियाजस्ता देशमा गएका नेपाली र एनआरएनएहरूले नेपाली सांगीतिक क्षेत्रलाई बचाउन ठूलो योगदान गरिरहेको अनुभव उनले सुनाए ।
एक दशकअघिसम्म यही स्टुडियोमा मासिक ७०–८० वटा गीत रेकर्ड हुन्थे । अहिले २०–२२ वटा गीत रेकर्डिङ हुँदै आएको थापा बताउँछन् । उनले एउटा गीत रेकर्ड गराएको १० हजार रुपैयाँ स्टुडियो चार्ज लिन्छन् । नेपाली सांगीतिक क्षेत्रमा भएको लगानीको आधारलाई हेर्ने हो भने यो चार्ज एकदमै न्यून हो । एकातिर रेकर्डिङ स्टुडियोको आर्थिक अवस्था कमजोर बनिरहेको छ भने अर्कातिर स्टुडियोहरूबीचमै अस्वस्थ प्रतिस्पर्धा छ, जसले यो उद्यमलाई झन् समस्यामा पारेको छ । ‘अहिले रेकर्डिङ स्टुडियोहरूबीच डरलाग्दो अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ,’ थापा भन्छन्, ‘यो अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने कोही भएन ।’ अहिले साधारण होम स्टुडियो चलाएर बस्ने र अत्याधुनिक उपकरण भएका स्टुडियोले लिने चार्ज उस्तै छ । यस्तो अवस्था अस्वस्थ प्रतिस्पर्धाका कारण जन्मिएको उद्यमीहरू बताउँछन् ।
ए वनमा पछिल्लो समय धेरैजसो आधुनिक र चलचित्रका गीतहरू रेकर्डिङ हुन्छन् । चौबन्दीमा, पागल म बन्न सक्छु, कम्मरमाथि पटुकी, ढल्क्यो, चिया–कफी, मर्ने कसैलाई रहर हुँदैन लगायतका चर्चित गीत ए वनमा रेकर्डिङ भएका हुन् ।

बीबी अनुरागीले बबरमहलमा प्रिज्म डिजिटल स्टुडियो सुरुवात गरेको १४ वर्ष भयो । प्रिज्मलाई हिजोआज पनि चल्तीको रेकर्डिङ स्टुडियो मानिन्छ । पहिलेको तुलनामा गीत रेकर्डिङमा फेरबदल आएको अनुरागी बताउँछन् । ‘पहिले गायक–गायिका स्वयम्ले एल्बम निकाल्थे, जसमा ८–१० वटा गीत समावेश हुन्थ्यो,’ संगीतकारसमेत रहेका अनुरागी भन्छन्, ‘त्यो बेलामा एउटा एल्बम बन्न महिनौं लाग्थ्यो, तर अहिले छिटो–छिटो रेकर्डिङ भएर बजारमा जान्छ ।’ बीबीका अनुसार गीत रेकर्डिङको संख्या घटेको छैन, तर निकै सस्तो स्टुडियो चार्जमा गीत रेकर्डिङ भइरहेका छन् । अहिले एउटा गीत रेकर्डिङसहित भिडियो तयार हुन कम्तीमा २ लाख खर्च हुन्छ । गीत रेकर्डिङको चार्ज २० हजार रुपैयाँभन्दा माथि नरहेको अनुरागी बताउँछन् । ‘यसले स्टुडियोलाई न्याय गर्दैन,’ उनी गुनासो पोख्छन्, ‘स्टुडियोको धेरै लगानी हुन्छ, टेक्निसियनहरू त्यत्तिकै खटिएका हुन्छन्, त्यसैले अहिले गीत रेकर्डिङका लागि स्टुडियोमा तिरिएको चार्ज एकदमै कम हो ।’
हिजोआज प्रिज्ममा एक दिनमा तीनवटा गीत तयार हुन्छन् । दिनमै तीनवटा गीत तयार गर्दा संगीतको गुणस्तरमा कतिको ध्यान दिइन्छ ? ‘हाम्रो स्टुडियोको विशेषता क्वालिटी नै हो,’ अनुरागी थप्छन्, ‘एक दिनमा तीनभन्दा धेरै गीत तयार गर्ने स्टुडियो पनि छन्, तर हामी गुणस्तरमा ध्यान दिएरै दिनमा तीन मात्रै गीत तयार गर्छौं ।’ प्रिज्ममा एउटा गीत रेकर्डिङका लागि स्टुडियो चार्ज ८ हजार लाग्छ । यो चार्जले जेनतेन स्टुडियो धानेको छ । सुरुवाती दिनमा प्रिज्ममा धेरैजसो लोकदोहोरी गीत रेकर्डिङ भए पनि अहिले आधुनिकका साथै चलचित्रका गीतहरू रेकर्डिङ हुन्छन् । लालुपाते नुग्यो भुइँतिर, सिमसिम पानी रै’छौ बैमानी, भन्नु नभा’को, धोका दिनेलाई के भनौं र खोइ, गलबन्दीलगायतका चर्चित गीत प्रिज्मामा रेकर्ड भएका हुन् । प्रिज्ममा रेकर्डिङ भएका आधुनिक गीतअन्तर्गत तिम्ले पराई ठानेपछि, तिर्खा लाग्यो पानी खाएँ, हाँस्नलाई ओठ खोलें, जहाँ तिमी त्यहाँ म हुन नपाउँदा जस्ता गीतहरू चर्चामा छन् । सुर्के थैली खै, पर्ख पर्ख मायालु, पहिलो नम्बरमा, कुटुमा कुटु, भिजिट भिसामा, गोजीमा दाम छैन लगायत थुप्रै गीत प्रिज्ममै रेकर्डिङ भएका हुन् ।
गीत–संगीत युट्युब ट्रेन्डिङमा पर्नु र चर्चा पाउनुमा रेकर्डिङ स्टुडियोको हात कति होला ? ‘गीतलाई गुणस्तर दिने भनेकै स्टुडियोले हो,’ अनुरागी भन्छन्, ‘स्टुडियोमा टेक्निसियन, रेकर्डिक्स, इडिटिङ र मिक्सिङ गर्ने मान्छे दक्ष भयो भने मात्र एउटा राम्रो गीत तयार हुन्छ ।’ आफ्नो स्टुडियोमा तयार भएका सिर्जनाले राम्रो स्थान पाउँदा हौसला थपिने उनको अनुभव छ । उनी उत्पादकले स्टुडियोको मर्का नबुझेर अस्वस्थ प्रतिस्पर्धामा दौडिएको देख्दा चाहिँ दुःख लाग्ने बताउँछन् । १४ वर्षअघि २० लाख लगानीमा सुरु भएको यो स्टुडियोले करिब १५ हजार गीत रेकर्डिङ गरिसकेको छ, स्टुडियोको स्तरोन्नति भने सोचेजस्तो भएको छैन ।
राजधानीको ड्रिम्स रेकर्डिङ स्टुडियो पनि चल्तीको स्टुडियोमा गनिन्छ । यो स्टुडियो खुलेको ठ्याक्कै २५ वर्ष पूरा भयो । २५ वर्षमा पनि आत्मनिर्भर हुन नसकेको सञ्चालक प्रकाश केसी बताउँछन् । २५ वर्षअघि गीत रेकर्डिङको खर्च कम थियो, अहिले त्यो निकै बढेको छ । ‘खर्चिलो भएकाले एल्बम निस्कन छाडे,’ केसी भन्छन्, ‘एउटा गीतको भिडियो बनाएर प्रचार गर्नेमा बढी जोड दिइरहेका छन् ।’ यति हुँदा पनि गीतको संख्या भने खासै घटेको छैन । पहिला गीत रेकर्डिङ गर्नेहरू कम थिए अहिले रहरले गाउनेहरू धेरै आएका छन् । थापा भन्छन्, ‘अहिले ९० प्रतिशतभन्दा बढी मान्छे संगीतबारे केही नबुझी रहरले गाइरहेका र लगानी गरिरहेका छन् ।’ यही लगानी स्टुडियोहरूलाई टिकाउने माध्यम बनिरहेको छ ।
स्तरीय भिडियो निर्माणका नाममा अत्यधिक खर्च गर्ने क्रम बढिरहेको छ । तर, रेकर्डिङ स्टुडियोमा लाग्ने खर्चमा भने कहिल्यै परिवर्तन नभएकोमा स्टुडियो सञ्चालकहरू गुनासो गर्छन् । ‘स्टुडियो चार्जमा मनपरी हुँदा कतिपय स्टुडियो सञ्चालकहरू अपग्रेड हुनै सकेनन्,’ केसी भन्छन्, ‘स्टुडियोको खासै एसोसिएसन पनि छैन, जसले गर्दा यहाँ अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ ।’
ड्रिम्समा एउटा गीत रेकर्डिङ गरेको १८ हजार रुपैयाँ स्टुडियो चार्ज लाग्छ । २०६० सालताका उनले एउटा गीत रेकर्ड गरेको करिब ३ हजार रुपैयाँ लिन्थे । समयक्रमसँगै उनले स्टुडियोको चार्ज बढाउँदै लगे । यता चार्ज बढाउँदा उता बिस्तारै ग्राहक पनि घट्दै गए । ग्राहक घटेको तिर उनले खासै ध्यान दिएनन् । आफ्नै तरिकाले क्रमैसँग स्टुडियो चार्ज बढाउँदै गए । उनले एक वर्षअघि मात्र १२ हजारबाट १८ हजार रुपैयाँ स्टुडियोको चार्ज पुर्‍याएका छन् । ‘अरूसँग प्रतिस्पर्धा गर्ने सोच कहिल्यै राखिनँ,’ उनी भन्छन्, ‘स्टुडियो चलोस् वा नचलोस्, आफ्नै तरिकाले काम गर्छु भनेर स्टुडियो चार्ज १२ हजारबाट १८ हजार रुपैयाँ पुर्‍याएँ ।’ स्टुडियो चार्ज बढाएसँगै ड्रिम्समा रेकर्डिङ हुने गीत संख्या आधा घट्यो । ‘८ हजारमा रेकर्डिङ गर्ने समयमा मैले मासिक ७०/८० वटा गीत रेकर्डिङ गर्थें,’ केसी भन्छन्, ‘स्टुडियोको चार्ज बढाएपछि आधा रेकर्डिङ घटेको छ ।’
त्यसैले यतिबेला ड्रिम्स स्टुडियो नेपालको रेकर्डिङले नधानेको केसी बताउँछन् । उनको स्टुडियोमा टुरिस्ट भिसामा नेपाल घुम्न आउने विदेशी पर्यटकहरूसमेत रेकर्डिङ गर्न पुग्छन् । साथै विदेशमा रहेका नेपालीहरूले पनि उनलाई गीत बनाइदिन अनुरोध गर्छन् । त्यसैले अहिलेसम्म विदेशकै गीतले स्टुडियो धानेको प्रकाश बताउँछन् । उनको स्टुडियोमा पप, आधुनिक र चलचित्रका धेरैजसो गीत रेकर्डिङ हुन्छन् । झलझली आँखामा, फेवातालमा साइँली, क्या दामी, छुनलाई होइन, धेरैलाई बाँड्दा नपुग्ला मायाजस्ता गीतहरू ड्रिम्समा रेकर्डिङ भएका हुन् ।
मित्र लामाको संगम स्टुडियो सञ्चालनमा आएको २६ वर्ष पुग्यो । संगीतमा ३२ वर्ष बिताइसकेका लामा पनि रेकर्डिङ स्टुडियोको दररेटमा कुनै स्तरोन्नति नभएपछि अरू नै व्यवसाय सुरु गर्ने मनस्थितिमा छन् । ‘३२ वर्षसम्म संगीतमै केही गर्छु, यसैबाट भविष्य सुरक्षित होला भन्ने लागेको थियो,’ लामा भन्छन्, ‘रेकर्डिङ स्टुडियोहरूको पछिल्लो हालत हेर्दा यसले भविष्यमा अप्ठेरो पार्छ भन्ने लागेर अर्कै व्यवसाय पनि सुरु गरौं कि भन्ने सोचिरहेको छु ।’ यसरी स्टुडियोको आम्दानी घट्नुको कारण के हो त ? ‘सहरमा गन्नै नसकिने गरी स्टुडियो खुल्नु र मान्छेहरूले गुणस्तरमा ख्याल नगर्नु हो,’ लामा भन्छन्, ‘राम्रा शब्द, संगीत, एरेन्जर, रेकर्डिङ भन्नेतर्फ मान्छेको ध्यान नै छैन, जसरी हुन्छ चर्चामा ल्याउनेतर्फ लगानीकर्ता र गायक–गायिकाको ध्यान गइरहेको छ ।’
चल्ने गीत र राम्रा गीतमा फरक हुन् । चल्ने गीत राम्रा हुन्छन् भन्न नसकिने लामाको बुझाइ छ । त्यसैले उनी छिटो चर्चामा आउनेभन्दा पनि राम्रा गीत बढी रेकर्डिङ गर्न रुचाउँछन् । उनलाई स्टुडियोको आम्दानीले खान, लगाउन र घरभाडा तिर्न मात्र पुग्छ । एउटा गीत रेकर्डिङ गरेबापत उनले ८ हजार रुपैयाँ स्टुडियो चार्ज लिन्छन् । अन्य संगीतकर्मीहरूको रेट बढे पनि स्टुडियोको चार्ज भने यथावत् रहेकोमा लामा पनि दुखेसो पोख्छन् । ‘पहिला एउटा एरेन्जरले संगीत संयोजन गरेको ५ सय रुपैयाँ पारिश्रमिक लिन्थ्यो, स्टुडियोलाई ४ हजार रुपैयाँ आउँथ्यो,’ लामा भन्छन्, ‘अहिले स्टुडियोलाई ८ हजार आउँछ, संगीत संयोजन गर्ने एरेन्जरले १५ हजार लिन्छ, त्यसैले रेकर्डिङ स्टुडियोहरू मारमा छन् ।’
कुनै बेला मासिक ७०/८० वटा गीत रेकर्डिङ हुने संगममा अहिले मासिक १५/२० गीत रेकर्डिङ हुन्छन् । यी गीतमा पनि विदेशमा रहेका नेपालीले लगानी गर्छन् । ‘९० प्रतिशत गीतमा विदेशमा रहेका नेपालीको लगानी छ,’ लामा भन्छन्, ‘यदि उनीहरूले गीत–संगीतमा लगानी नगर्दिने हो भने आधिकांश स्टुडियो बन्द हुन्छन् ।’ हाल संगम स्टुडियोमा प्रायः आधुनिक गीत रेकर्डिङ हुन्छन् । सत्यराज, स्वरूपराज, उदय सोताङ, सुरेशकुमारलगायतका गायकहरूको अधिकांश गीत रेकर्डिङ यही स्टुडियोमा हुन्छ । संगीतकार लक्ष्मण शेषले रेकर्डिङ स्टुडियो सुरु गरेको १८ वर्ष भयो । हाल उनले मञ्जुश्री रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेका छन् । उनको स्टुडियोको हालत पनि उस्तै छ । सुरुमा आवर डिजिटलबाट सुरु गरेका उनले बीचमा पार्टनरबाट धोका पाएको बताउँछन् । लगत्तै उनलाई स्टुडियो भएको घरमालिक मोहनवीर तुलाधर र युगरत्न तुलाधरले कलाकारले हरेस खानु हुँदैन भन्दै त्यसअघिको घरभाडा मिनाहा गरिदिए । साथै, लगानी पनि गरिदिएको शेष बताउँछन् ।
‘तैपनि मैले उहाँहरूलाई नाफा दिन सकेको छैन,’ शेष भन्छन्, ‘स्टुडियो घाटामा छ ।’ स्टुडियो धेरै भए, धेरैको रेट बढे तर स्टुडियोको रेट नबढेका कारण धेरैको स्टुडियो घाटामा गएको छ । अहिले मञ्जुश्री डिजिटलमा महिनामा मुस्किलले १० गीत रेकर्डिङ हुन्छन् । एउटा गीतको ६ हजारका दरले ६० हजार आम्दानी हुन्छ, तर खर्च दोब्बर रहेको शेष बताउँछन् । ‘म अहिले १५ लाख ऋणमा छु,’ शेष भन्छन्, ‘मोहनवीर तुलाधरको यति धेरै माया पाउँदा–पाउँदै पनि मैले स्टुडियोबाट आफ्नो जीवन उकास्नै सकिनँ ।’ कतिपय स्टुडियोलाई धरापमा पार्ने काम संगीतकारहरूले पनि गर्छन् । शेषकै स्टुडियोमा पनि धेरै संगीतकारले गीत अलपत्र पारेका छन् । ‘मेरै स्टुडियोमा विभिन्न संगीतकारले दर्जनौं गीत अलपत्र पारेका छन्,’ शेष भन्छन्, ‘सबै काम सकेर स्टुडियो चार्ज तिर्ने बेलामा भाग्छन् ।’ यसको सोझो मारमा रेकर्डिङ स्टुडियो र लगानीकर्ता पर्छन् । यसरी विभिन्न कारणले नेपालका रेकर्डिङ स्टुडियोहरू उकालो लाग्न सकेका छैनन् । माथि प्रस्तुत गरिएका रेकर्डिङ स्टुडियो मात्र नभएर अधिकांश रेकर्डिङ स्टुडियोको अवस्था धराशायी छ ।

नियमन गर्ने निकायको अभाव
पछिल्लो समय राजधानीमा रेकर्डिङ स्टुडियोहरू छ्यापछ्याप्ती छन्, जसलाई नियमन गर्ने निकाय छैन । त्यसैले अन्धाधुन्ध स्टुडियो सञ्चालन भइरहेका छन् । त्यस्ता स्टुडियोहरूका उपकरण, टेक्निसियनको दक्षताजस्ता पक्षको निगरानी गर्ने कुनै निकाय छैन । रेकर्डिङ स्टुडियोहरूबीचको अस्वस्थ प्रतिस्पर्धा भइरहेको स्टुडियो सञ्चालक किशोर थापा बताउँछन् ।
‘स्टुडियो खोल्नका लागि कुनै गाह्रो छैन,’ थापा भन्छन्, ‘गीत–संगीतमा अलि–अलि ज्ञान छ र स्टुडियो खोल्ने इच्छा भयो भने उसले सहजै स्टुडियो खोल्न सक्छ ।’ यस्तै नियमन गर्ने निकायकै अभावले गर्दा रेकर्डिङ स्टुडियोबीचमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको अकोस्टिक रेकर्डिङ स्टुडियोका सञ्चालक तथा संगीतकार हरि लम्साल बताउँछन् । रेकर्डिङ स्टुडियो र त्यसमा कार्यरत कर्मचारीको हकहितका लागि स्थापना भएको रेकर्डिस्ट एसोसिएसन नेपाल निष्क्रिय रहेको स्टुडियो सञ्चालकहरू आरोप लगाउँछन् । रेकर्डिङ स्टुडियो सञ्चालकहरूको समय अभावका कारण संगठित भएर अघि बढ्न नसकिएको रेकर्डिस्ट एसोसिएसन नेपालका उपाध्यक्ष महेश्वरराज भण्डारी बताउँछन् ।

काठमाडौंमा मात्र १ सय ८२ रेकर्डिङ स्टुडियो

घरेलु तथा साना उद्योग कार्यालय, त्रिपुरेश्वर, काठमाडौंको तथ्यांकअनुसार हालसम्म काठमाडौंमा १ सय ८२ वटा रेकर्डिङ स्टुडियो दर्ता भएका छन् । यसबाहेक निजीस्तरमा खुलेका र सरकारी अभिलेखमा दर्ता नभएका करिब ४० वटा होम स्टुडियो छन् । साथै, दुई दर्जन जति स्टुडियो उपत्यका बाहिर छन् । यति धेरै स्टुडियो टिक्ने आधार भने परदेशबाट आएर गीत रेकर्डिङ गराउन चाहनेहरूले नै हुन् ।

यतिबेला रेकर्डिङ स्टुडियोहरू सौखिनहरूले धानिरहेका छन् । जसले अलि–अलि पैसा कमाए, अनि नामका लागि भए पनि गीत–संगीतमा लगानी गरौं है भन्नेहरूले स्टुडियोलाई चलायमान गराइरहेका छन् ।
- किशोर थापा

म अहिले १५ लाख ऋणमा छु । मोहनवीर तुलाधरको यति धेरै माया पाउँदा–पाउँदै पनि मैले स्टुडियोबाट आफ्नो जीवन उकास्नै सकिनँ ।
लक्ष्मण शेष

 

अहिले ९० प्रतिशतभन्दा बढी मान्छे संगीतबारे केही नबुझी रहरले गाइरहेका र लगानी गरिरहेका छन् ।
प्रकाश केसी

रेकर्डिङ स्टुडियोहरूको पछिल्लो हालत हेर्दा यसले भविष्यमा अप्ठेरो पार्छ भन्ने लागेर अर्कै व्यवसाय पनि सुरु गरौं कि भन्ने सोचिरहेको छु ।
मित्र लामा

 

स्टुडियोको धेरै लगानी हुन्छ, टेक्निसियनहरू त्यत्तिकै खटिएका हुन्छन्, त्यसैले अहिले गीत रेकर्डिङका लागि स्टुडियोमा तिरिएको चार्ज एकदमै कम हो ।
बीबी अनुरागी

Page 27
Page 28
यौन जिज्ञासा र समाधान

यौन जिज्ञासा

- डा. राजेन्द्र भद्रा

म अविवाहित पुरुष हुँ । मेरो लिंगको अगाडिको भाग र छालामा स–साना डल्ला (बिमिरा) आएको छ । डाक्टरसँगको जाँचपछि ऋयिदभल(न् नामक क्रिम लगाएको थिएँ, तर निको भएन । यसका लागि के गर्नुपर्ने हुन्छ ।

लिंगको अगाडि
भागका बिमिरा
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले लिंगको अगाडिको भागका बारेमा केही कुरा गरौं । लिंगको अगाडितिरको फुकेको भागलाई लिंगमुण्ड भनिन्छ । यही लिंगमुण्डको अयचयलब को पछितिर ससाना कभदबअष्यगक नबिलमक (छालामा भएका तैलीय पदार्थ निकाल्ने ससाना ग्रन्थि) हुन्छन्, जसलाई त्थकयलुक नबिलमक भनिन्छ । तपाईंले भन्नुभएभन्दा यसको संख्या धेरै हुन्छ । यही ग्रन्थिबाट निस्कने तैलीय रस तथा छालाबाट झरेका कोषहरू जम्मा हुन गएमा त्यसैमा जीवाणुहरूको वृद्धि हुन्छ र सो सेतो पदार्थ बन्छ । यही सेतो पनिरजस्तो देखिने, एक प्रकारको गन्ध आउने फदार्थलाई कझनब भनिन्छ । केही धार्मिक सम्प्रदाय, जस्तै कि हिन्दू सम्फ्रदायमा लिंगको अग्रचर्म काट्ने चलन छैन, त्यसैले कझनब चाँडो–चाँडो जम्मा हुन्छ । यो सेतो पदार्थ पुरुषमा मात्र होइन, महिलामा पनि पाइन्छ । महिलाहरूमा भने यो सानो भगोष्ठको मुनि तथा भगांकुरको मुण्डको वरिपरि पाइन्छ ।

के यसका लागि उपचार चाहिएला ?
पहिलो कुरा त यो सेतो पदार्थ स्वाभाविक रूपमा निस्कने कुरा हो र यसरी सेतो निस्किँदैमा हानि गर्दैन, तर यसलाई सफा नै नगरी धेरै जम्मा भएमा भने समस्या जन्माउन सक्छ । यसलाई सफा नगरिए यसको गन्ध प्रबल हुन्छ र त्यसले केही असजिलोपन ल्याउन सक्छ । अचेल बजारमा पाइने सुगन्ध छर्कने चलन चलेका बेला कतिपय प्राकृतिक गन्धलाई पनि नितान्त दुर्गन्धका रूपमा लिइन्छ । सायद गन्धका कारण यौनअंगलाई फोहर अंग ठान्नमा सहयोग गरेको छ । जे होस्, यौनांगको नियमित सरसफाइ गर्नुपर्छ ।

औषधीपछि पनि किन निको नभएको होला ?
तपाईंले चिकित्सकलाई जँचाई औषधीको प्रयोग गर्नुभएकाले के आशा गर्न सकिन्छ भने तपाईंको रोगको सही निदान र सोअनुसार नै सही उपचार भएको होला भन्ने विश्वास लिएको छु । तपाईंले प्रयोग गर्नुभएको औषधी ऋयिदभल(न् मा फङ्सलाई नष्ट गर्ने बलतष्(ागलनब,ि बलतष्दष्यतष्अक तथा कतभचयष्म छन् । यी तीनै प्रकारका तत्त्वयुक्त औषधी किन प्रयोग गर्नुपर्ने स्थिति रह्यो भन्ने त परीक्षण गर्नुहुने चिकित्सकलाई पक्कै थाहा होला, तर उपचारपछि पनि किन निको भएन त भन्ने सन्दर्भमा कुरा गर्दा समस्याको निदान नै सही नहुनु र समस्याअनुसारको औषधी सही नहुनु वा सो भए पनि औषधीको सही तरिकाले प्रयोग नगर्नुजस्ता कुरा पर्छन् । अर्को कुरा, उपचार गर्नै नपर्ने कुरालाई उपचार गर्न खोज्दा पनि सो कम हुने स्थिति हुँदैन ।
तपाईंको लिंगमुण्डमा हुने बिमिराहरू सामान्य नै भएकाले उपचारको आवश्यकता पर्दैन । त्यसैले निको हुने भन्ने स्थिति आउने कुरा पनि भएन । त्यसैले अन्य कुनै लक्षण छैन भने मेरो विचारमा चिन्ता लिनुपर्ने आवश्यकता पनि छैन । शंका छ भने तपाईं यौनरोग विशेषज्ञको सल्लाह लिन सक्नुहुन्छ ।

राशिफल

यो साताको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मेष
आफ्नो क्षमताबाट जवाफदेही कार्य सम्पन्न गर्दा उचाइमा पुगिनेछ । निजी विचारको झिल्काले प्रेमी/प्रेमिकासँगको भावनामा खटपट आउने सम्भावना छ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउँदा तथ्य कुरा पत्ता लगाउन सकिनेछ । खानपान फेरबदल हुँदा स्वास्थ्यमा ध्यान दिनुपर्नेछ ।

वृष
रोजगारीका निम्ति अन्तर्वार्ताको बोलावट हुने सभावना छ । कौशल देखाएर तन्नेरीमाझ फरक अनुभूति दिन सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित भई ठाकठुकसमेत पर्न सक्छ । परोपकारी कार्यमा वृद्धवृद्धाहरूलाई फलफूल तथा वस्त्र सहयोग गर्दा आशीर्वाद पाइनेछ ।

मिथुन
कार्यक्षेत्रमा अनुशासित भई काम गर्दा षड्यन्त्रकारीलाई परास्त गर्न सकिनेछ । योग तथा शारीरिक व्यायामले मानसिक तनावबाट मुक्त भइनेछ । पर्यटकीय क्षेत्रमा जोसिलो भई सेवा गर्दा बढी आनन्द मिल्नेछ । अनौठो डिजाइनका पहिरनमा लगानी गर्दा बढी मुनाफा हात लाग्न सक्छ ।

कर्कट
युवायुवतीमाझ नौलो परिचय दिन सकिनेछ । गुणस्तरीय व्यवसाय सुरु गर्न साझेदारीबीच मत मिल्नेछ । व्यवसायमा सफलता मिल्नुका साथै आर्थिक लाभ होला । सघाउन आउने सहयोगीले षड्यन्त्र गर्न सक्छन्, सचेतनाले आफ्नो हित हुनेछ । मनोरन्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

सिंह
आफूले गरेको कार्य सफल भई प्रेमिकाले बधाई दिँदा थप ऊर्जा मिल्नेछ । विपन्न आर्थिक समुदायमाझ सहयोगी भूमिका निर्वाह गर्दा आफ्नो परिचय चर्चित बनाउन सकिनेछ । उपहारका साथ भेट्न आउने मित्रसँग सावधानी अपनाए बेसै होला । बोलीमा थप प्रभाव पार्न रातो रंगको अनुसरण लाभदायक मानिनेछ ।

कन्या
भित्रभित्रै चियोचर्चो गर्नेहरूसँग सावधानी रहनु बेस हुनेछ । मौसमी फेरबदलबाट पारिवारिक अस्वस्थतामा समय खर्चनुपर्ला । केही समययता प्रेमिकासँगको खल्लोपनले निराशा छाउनेछ । मझौला व्यवसाय फस्टाउन नसक्दा थप लगानीले पिरोल्नेछ । साताको अन्त्यमा भने चर्चित प्राविधिक कम्पनीमा रोजगारीको अवसर हात लाग्न सक्छ ।

तुला
घोत्लिएर बसेकी प्रेमिकालाई नौलो रोजगारीको समाचार सुनाउदा दंग पर्नेछिन् । फुल करियर बनाउन दैनिकीमा परिवर्तनको खाँचो पर्नेछ । स्मरणीय कार्य सम्पन्न गर्न ठूलाबडा व्यक्तिको सहयोग तथा आशीर्वादको जरुरत पर्नेछ । पहेंलो धातु बिक्री गरी औकातअनुसार सवारी साधन खरिद गर्न सकिनेछ ।

वृश्चिक
आफूले गरेका पूर्वकार्ययोजना सफल भई सार्थक परिणाम हात पर्दा स्मरणीय क्षण बन्नेछ । विपरीत लिंगीको प्रस्तावलाई आलटाल गर्नाले एक–अर्कामा दूरी बढ्न सक्छ, जुझारु तथा मार्गप्रशस्त गर्ने युवा अभियानको नेतृत्व गर्ने अवसर मिल्न सक्छ । चिसो वातावरणमा मनोरन्जन गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

धनु
युवायुवतीमाझ लोकप्रिय कार्य सञ्चालन गर्दा चर्चित भइनेछ । आफैं केही गर्नुपर्छ भन्ने सार्थक उदाहरणको पात्र बन्न सकिनेछ । प्रेमिकाको स्वप्न महल साकार बनाउन वास्तविकताभन्दा फरक चरित्र चित्रण गर्नुपर्नेछ । धार्मिक तथा सामाजिक क्षेत्रमा सेवा गर्दा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ ।

मकर
आफ्नो धरातल बिर्सिएर अर्काको अभिनय गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा पनि परिवर्तन आउन सक्छ । राज्यस्तरबाट दिएका जिम्मेवारी बेवास्ता गर्नाले ठूलो नोक्सानीको फन्दामा परिनेछ । खरानी रंगको पहिरनबाट समस्या निवारण गर्न ऊर्जा मिल्न सक्छ ।

कुम्भ
बिदेसिएका साथीको सुझाव अपनाए करियर बनाउन गाह्रो पर्नेछैन । आफ्नै मुलुकमा प्रतिस्पर्धा गरी परिणाम हात पार्दा विपरीत लिंगी उपहारसहित भेट्न आउन सक्छन् । मनोरञ्जन तथा जलक्रीडा गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । घरायसी व्यवहारको किचलोबाट टाढै बसे उचित हुनेछ ।

मीन
भविष्यको चिन्तालाई विदेशी अवसरले परास्त गर्न सकिनेछ । सामाजिक क्षेत्रबाट मान–सम्मान प्राप्त भई बाधाहरू फुकुवा हुनेछन् । विभिन्न सभा–सेमिनार, प्रतियोगितामा भाग लिँदा आफ्नो भूमिका अग्रणी हुनेछ । मर्यादा पालन नगर्दा विवादमा पर्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयमित हुनु नै उचित देखिन्छ ।

Page 29
करिअर

कुन पेसामा कति तलब

उच्च शिक्षा अध्ययनका सिलसिलामा बर्सेनि हजारौं नेपाली विद्यार्थीले पश्चिमी मुलुकका विश्वविद्यालय खोजिरहेका हुन्छन् । पश्चिमी मुलुकका विश्वविद्यालयहरूमा अध्ययन गरेर धेरैले आफ्नो रोजगारीको ढोका खोल्नेसमेत गरेका छन्, तर अध्ययनका लागि विदेश जानुअघि कुन विषय पढ्दा रोजगारीको सुनिश्चितता बढी हुन्छ र कुन रोजगारीले मासिक तलब बढी आउला भन्ने कुरामा धेरै विद्यार्थीलाई द्विविधा हुन्छ । किपलाइनरले हालै कुन विषय पढेर रोजगारी अँगाल्यो भने आर्थिक रूपमा बढी फाइदाजनक हुन्छ भन्ने विषयमा लामै सूची सार्वजनिक गरेको छ ।
पश्चिमी मुलुकमा हाई स्कुलको डिप्लोमाभन्दा कुनै निश्चित विषयमा विश्वविद्यालयको डिप्लोमा लिएर रोजगारीको क्षेत्रमा प्रवेश गरेमा आम्दानी ८० प्रतिशतले बढ्ने गर्छ । अझ अमेरिकामा कुनै विश्वविद्यालयको डिग्री लिएर रोजगारीमा प्रवेश गरे कर्मचारीको तलबमान अझ बढी हुन्छ । यसरी जाने रोजगारदाताको कामको प्रकृतिअनुसार तलब भने फरक हुन्छ ।

इलेक्ट्रिकल इन्जिनियरिङ
पछिल्लो पटक टेक्नोलोजीको विकासले गर्दा यो पेसाका इन्जिनियरहरूको माग बढ्दै गएको छ । दिनहुँ फेरिँदै गएको टेक्नोलोजीका कारण इलेक्ट्रिकल इन्जिनियरको रोजगारीको अवसर करिब २३ प्रतिशतले अमेरिकामा बढेको छ । अर्को केही दशकसम्म यो संख्या अझै बढ्ने देखिन्छ । यो पेसामा रहेर पहिलो चरणमा कुनै पनि व्यक्तिले ७९ लाख वार्षिक आम्दानी गर्न सक्छन् भने अनुभवका आधारमा उसको तलब बढेर वार्षिक १ करोड साढे ३३ लाख रुपैयाँसम्म पुग्ने गर्छ ।

नर्सिङ
नर्सिङ पेसाको माग अहिले सबै क्षेत्रमा अत्यधिक बढ्दै गएको छ । प्रतिष्ठित पेसाका रूपमा मानिने नर्सिङ स्टाफलाई अहिले अस्पतालदेखि निजी स्वास्थ्य सेवाको क्षेत्रमा पनि माग गरिन थालिएको छ । सबैलाई लामो समय बाँच्ने चाहना भएकै कारण यो पेसामा रहेका व्यक्तिहरूलाई राम्रै पारिश्रमिक दिएर राख्ने समेत गर्छन् । एक अनुमानअनुसार अहिले अमेरिकामा नर्सले पहिलो चरणमा वार्षिक साढे ६९ लाख रुपैयाँ आम्दानी गर्छन् भने उनीहरूको अनुभवअनुसार यो तलब बढेर करिब ८८ लाख रुपैयाँसम्म हुने गरेको छ ।

कम्प्युटर इन्जिनियरिङ
प्रविधिको जमाना भएका कारण अहिले कम्प्युटर इन्जिनियरहरूको माग सर्वत्र अत्यधिक छ । कम्प्युटरको हार्डवेयर इन्जिनियरिङदेखि विभिन्न सिस्टमको डिजाइन गर्नुपर्ने यो पेसामा दिनहुँ रोजगारीका माग बढिरहेका छन् । राम्रो कम्प्युटर इन्जिनियरले रोजगारी सुरु गरेको वर्षमै लगभग ८२ लाख वार्षिक आम्दानी गर्छन् भने अनुभव बढ्दै गएपछि उनीहरूको आम्दानी बढेर १ करोड ३६ लाख रुपैयाँको हाराहारीमा पुग्ने गर्छ ।

केमिकल इन्जिनियरिङ
कच्चा पदार्थहरूको प्रयोग गरेर कपडा, खानेकुरा, इन्धन, औषधिजस्ता पदार्थ उत्पादनको क्षेत्रमा अवसरहरू बढ्दै गएको छ । यो विषयअन्तर्गत पनि धेरै किसिमको विषयहरू रहेका छन् । यो विषयमा अध्ययन गरेर केमिकल इन्जिनियरिङको ढोका खोलिन्छ । एक अनुमानअनुसार अहिले अमेरिकामा मात्र वार्षिक साढे १७ प्रतिशतको दरमा यो पेसाको माग बढिरहेको छ । यो पेसामा रहेर काम गर्ने केमिकल इन्जिनियरले पहिलो चरणमा वार्षिक ८१ लाख रुपैयाँ तलब पाउँछन् भने अनुभवका आधारमा १ करोड ४४ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन् ।

सिभिल इन्जिनियरिङ
निर्माण क्षेत्रको ढाँचा तयार गर्नेमा सिभिल इन्जिनियरको भूमिका महत्त्वपूर्ण हुन्छ । ठूला–ठूला निर्माण कम्पनीहरूले वर्षौं लगानी गरेर परियोजना, हवाई अड्डा तथा सहरीकरण गर्नुपर्ने हुनाले सिभिल इन्जिनियरहरूको माग धेरै देशमा उच्च छ । अमेरिकामा अहिले सिभिल इन्जिनियरले पहिलो चरणमा वार्षिक ६८ लाख रुपैयाँ तलब पाउने गर्छन् भने उनीहरूको अनुभवका आधारमा यो तलब बढेर १ करोड १५ लाख रुपैयाँसम्म पुग्छ ।

बायोमेडिकल इन्जिनियरिङ
प्रविधि र स्वास्थ्यको क्षेत्रमा अहिले रोजगारीका सर्वाधिक अवसरहरू सिर्जना हुँदै आएको छ । बायोमेडिकल इन्जिनियरिङ यी दुवैको मिश्रित काम भएका कारण यो पेसामा अवसरका ढोकाहरू पनि प्रशस्तै खोलिन थालेको छ । विज्ञानको क्षेत्रले गरेका नवीनतम आविष्कारहरूको परीक्षण बायोमेडिकल इन्जिनियरले गर्नुपर्ने हुनाले यो पेसामा उत्तिकै दक्षताको पनि आवश्यकता छ, जसका कारण यो पेसामा भएका व्यक्तिले पहिलो चरणमै वार्षिक साढे ७४ लाख रुपैयाँदेखि अनुभवको आधारमा १ करोड २५ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन् ।

कम्प्युटर साइन्स
यो विषयमा गरिने विशेषज्ञता धेरै क्षेत्रलाई उपयोगी हुन्छ । यो विषयको अध्ययन गरेपछि प्रविधिको क्षेत्रमा पनि काम गर्न सकिन्छ भने एप्स निर्माणमा पनि, यस्तै सिस्टममा पनि काम गर्न सकिने ढोका खुल्छ । उत्कृष्ट रोजगारीको क्षेत्रमा पर्ने कम्प्युटर साइन्समा मात्र अमेरिकामा आगामी एक दशकमा साढे ३० प्रतिशतले रोजगारीका अवसरहरू खोलिने अनुमान गरिएको छ । यो पेसामा आबद्ध हुँदा प्रारम्भिक चरणमा वार्षिक ७८ लाख रुपैयाँ तलब पाइन्छ भने अनुभवका आधारमा वार्षिक १ करोड २९ लाख रुपैयाँसम्म पाउन सकिन्छ ।

कन्स्ट्रक्सन म्यानेजमेन्ट
जनसंख्या वृद्धि, जमिनको उपयोगजस्ता कारणले अहिले सानो स्थानमा भवन, अस्पताल, कार्यालय, विद्यालयको निर्माण कार्य तीव्र भइरहेको छ । योबाहेक भएका भवनहरूको पुनर्निर्माण, मर्मतजस्ता क्षेत्रमा काम गर्न कन्स्ट्रक्सन म्यानेजमेन्टको भूमिका महत्त्वपूर्ण मानिन्छ । देशको आर्थिक अवस्थाका कारण यो पेसामा रहेका व्यक्तिहरूको रोजगारीको अवसर तलमाथि पर्ने भए पनि अमेरिकामा मात्र वार्षिक ३ दशमलव ३ प्रतिशतले यो पेसामा माग बढिरहेको छ । यो पेसामा प्रवेश गर्ने व्यक्तिले प्रारम्भिक चरणमा वार्षिक ६६ लाख रुपैयाँ तलब पाउँछन् भने अनुभवका आधारमा उनीहरूको तलब १ करोड साढे १३ लाख रुपैयाँसम्म हुन्छ ।

मेकानिकल इन्जिनियरिङ
इन्जिनियरिङको अथाह सम्भावनाका बीचमा मेकानिकल इन्जिनियरिङको अवसर पनि प्रशस्तै छ । कुनै पनि प्रविधिको सर्किट, त्यसमा गरिने प्रविधि, तरल पदार्थहरूको प्रयोगजस्ता कामले यो पेसालाई पनि जटिल बनाएको छ, जसका कारण यो पेसामा रोजगारीका अवसरहरू पनि बढिरहेका छन् । यो पेसामा अमेरिकामा काम गर्ने व्यक्तिले प्रारम्भिक चरणमा ७४ लाख रुपैयाँदेखि अनुभवका आधारमा १ करोड २३ लाख रुपैयाँसम्म बार्षिक तलब पाउने गर्छन् ।

पेट्रोलियम इन्जिनियरिङ
इन्जिनियरिङ क्षेत्रको एउटा विधाका रूपमा रहेको पेट्रोलियम इन्जिनियरिङको क्षेत्रमा प्रशस्तै अवसर छन् । विभिन्न देशले पेट्रोलियम पदार्थको अन्वेषणदेखि प्रशोधनमा ध्यान दिन थालेपछि यो क्षेत्रमा दक्ष इन्जिनियरहरूको माग बढी छ । अमेरिकामा पनि पेट्रोलियम इन्जिनियरहरूको माग बर्सेनि १३ दशमलव १ प्रतिशतले बढिरहेको छ । पेट्रोलियम इन्जिनियरिङको क्षेत्रमा काम गर्ने इन्जिनियरले पहिलो चरणमै वार्षिक ९३ लाख ४५ हजार रुपैयाँ तलब पाउँछन् भने उनीहरूको अनुभवका आधारमा औसत रुपमा २ करोड साढे ७ लाख रुपैयाँसम्म तलब हुन्छ ।

वार्षिक आकर्षक तलब भएका अन्य पेसाहरू
म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम
प्रारम्भिक तलब : ६८ लाख रुपैयाँ
अनुभवी : १ करोड १७ लाख रुपैयाँ
इन्डस्ट्रियल इन्जिनियरिङ
प्रारम्भिक तलब : ७५ लाख रुपैयाँ
अनुभवी : १ करोड २५ लाख रुपैयाँ
न्युक्लियर इन्जिनियरिङ
प्रारम्भिक तलब : ७९ लाख ८९ हजार रुपैयाँ
अनुभवी : १ करोड ३७ लाख ५२ हजार रुपैयाँ
सफ्टवेयर इन्जिनियरिङ
प्रारम्भिक तलब : ७८ लाख रुपैयाँ
अनुभवी : १ करोड २३ लाख २८ हजार रुपैयाँ
बिजनेस एडमिनिस्ट्रेसन
प्रारम्भिक तलब : ५५ लाख रुपैयाँ
अनुभवी : ८९ लाख ३८ हजार रुपैयाँ
मेटेरियल साइन्स
प्रारम्भिक तलब : ७६ लाख ७२ हजार रुपैयाँ
अनुभवी : १ करोड २० लाख रुपैयाँ
केमिस्ट्री
प्रारम्भिक तलब : ५४ लाख रुपैयाँ
अनुभवी : १ करोड २ लाख रुपैयाँ
इकोनोमिस्ट
प्रारम्भिक तलब : ६४ लाख रुपैयाँ
अनुभवी : १ करोड १९ लाख रुपैयाँ
फुड साइन्स
प्रारम्भिक तलब : ५६ लाख रुपैयाँ
अनुभवी : ९६ लाख ७२ हजार रुपैयाँ

Page 30
खेलकुद

हामी ‘सिब्लिङ’

- मुकुन्द बोगटी
सारा,रत्नजित र नाङ्सला तामाङ

काठमाडौंमा सन् १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा मार्शल आर्टका खेलाडीहरूले एकपछि अर्को गर्दै स्वर्ण पदक जितिरहेका थिए । यो स्वर्ण पदक जित्ने अभियानमा बक्सिङ खेलबाट देखा परे— प्रकाश थापा मगर र रामचन्द्र थापा मगर । पाँचौं सागमा रजत पदक जितिसकेका प्रकाश थापा मगरले आठौं सागमा ६७ किलोग्रामवाट स्वर्ण पदक जिते भने उनको सहोदर भाइ रामचन्द्रले ५७ किलोग्राम तौल समूहमा अर्को स्वर्ण पदक दिलाए । एकै परिवारका दाजुभाइले एउटै प्रतियोगितामा स्वर्ण पदक जितेको नेपालको खेलकुद इतिहासमा यसलाई पहिलो क्षणकै रूपमा हेरिन्छ ।
वि.सं. २०३८ देखि बक्सिङ खेल्न थालेका प्रकाशले २०४३ सालमा आफूलाई क्षेत्रीय स्तरको खेलाडी बनाइसकेका थिए । नातामा ठूलोबुबा पर्ने भुटु रानामगर, जसले दलबहादुर रानामगरलाई समेत बक्सिङ सिकाएका थिए उनैबाट प्रकाशले पनि बक्सिङको प्रारम्भिक प्रशिक्षण गर्ने मौका पाए । ‘मेरो बक्सिङको पहिलो गुरु नै उहाँ हुनुभयो, त्यसपछि मैले प्रवीण र मदनकुमार गुरुङबाट सिक्ने मौकासमेत पाएँ । आफूभन्दा सात–आठ वर्ष कान्छो भाई रामचन्द्रलाई पनि प्रकाशले प्रशिक्षण गराउँदै बक्सिङतर्फ आकर्षित गराउन सफल भएँ । म त्यो बेला क्षेत्रीय प्रतियोगिता खेल्ने भइसकेको थिएँ । आफूले जानेको कुरा उसलाई खोलाको बगरमा लगेर प्रशिक्षण गराउँथे । ऊ अलि आक्रामक स्वभावको भएका कारण उसले चाँडै सिक्यो ।’
नेपाली बक्सिङ खेलमा दलबहादुर रानामगरपछि राम्रा खेलाडीमा थापामगर दाजुभाइ नै देखिएका थिए । आफ्नो खेलकुद करिअरमा प्रकाशले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत २ स्वर्ण, २ रजत र १ कांस्य पदक दिलाए भने भाइ रामचन्द्रले १ स्वर्ण र १ कांस्य पदक दिलाएका थिए । अहिले प्रकाश विगत तीन वर्षदेखि नेपाली राष्ट्रिय बक्सिङ टिमको मुख्य प्रशिक्षक रहेका छन् । उनकै प्रशिक्षणको नेतृत्वमा नेपालले हालै १३ औं सागमा ऐतिहासिक ३ स्वर्ण पदक जित्यो भने उनका भाइले केही वर्षदेखि नेपाली सेनालाई बक्सिङको प्रशिक्षण गराउँदै आइरहेका छन् ।


तेक्वान्दोका प्रशिक्षक सोभितमान गिरीको लक्ष्य घरका सबै जना खेलाडी होऊन् भन्ने थियो । उनले आफ्नो पुस्तालाई खेलकुदमा लगाउन नसके पनि आफूपछिका पुस्तालाई भने खेलकुदमा लाग्ने माहौल नै बनाए । उनले रोमी गिरीलाई तेक्वान्दोको प्रशिक्षण गराउन थाले । रोमीको पदचाप पछ्याउँदै बहिनी रोसी गिरी पनि तेक्वान्दो खेलमा आइन् र उनीहरूका भाइ रोशन गिरी पनि अहिले तेक्वान्दोमै रहेका छन् । रोमी र रोजीले तेक्वान्दोको फोर डन हासिल गरे भने भाई रोशन सेकेन्ड डन रहेका छन् ।
२२ जनाको संयुक्त परिवारमा रहेका गिरी परिवारको दोस्रो पुस्ताका ९ जना सदस्य तेक्वान्दो र कराँते खेलमा रहेका छन् । नेपालभित्रका धेरै प्रतियोगिता खेलेका रोमी अहिले दक्षिण कोरियाको सियोल नेसनल युनिभर्सिटीमा स्पोर्ट्स म्यानेजमेन्टमा मास्टर डिग्री छात्रवृत्तिमा पढ्दै छिन् । उनकी बहिनी रोसी कानुनमा बीए एलएलबी गर्दैछिन् भने उनले स्पोर्ट्स लिडरसिपको धेरै किसिमका तालिम सञ्चालनसमेत गरिसकेकी छिन् ।
नेपालभित्रका खेलकुद प्रतियोगितामा मात्र सहभागी भएकी रोमी आफूले पढाइलाई प्राथमिकतामा राखेका कारण आफूहरू अन्तर्राष्ट्रिय खेलाडी हुन नसकेको बताउँछिन् । यस्तै किसिमको कथन रोसीको पनि छ, ‘हामीले स्पोर्ट्समा खेलाडी बनेर बिताउने भन्दा पढाइमार्फत् स्पोर्ट्स करिअरका रूपमा अगाडि बढ्ने सोचाइ बनायौं ।’
रोसी भन्छिन्, ‘हामी जुन अवस्थामा खेलिरहेका छौं, हाम्रो सफलतालाई बढाउन धेरै कुराको खाँचो छ ।’ खेलेर मात्र खेलकुदको विकास हुँदैन, यसलाई व्यवस्थित रूपमा लैजान सके मात्र खेलकुदको विकास हुने उनी बताउँछिन् ।


रोमी आफूले खेलकुदको व्यवस्थित विकास होस् भनेर स्पोर्ट्स एड्मिनिस्ट्रेसन विषय पढिरहेको बताउँछिन् । रोमीले रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै दिप प्रज्वलन कार्यक्रममा वक्ता बनेकी थिइन् । यो क्षण नेपाली खेलकुदले ओलम्पिक प्रतियोगितामा पाएको पहिलो सम्मान पनि थियो ।
दानबहादुर तामाङ आफ्नो जमानाका चर्चित राष्ट्रिय खेलाडी थिए । थातथलो भोजपुरमै घरबाहिर कोर्ट बनाएर उनी ब्याडमिन्टनको माहौल बनाउँथे । बाबुको ब्याडमिन्टनप्रतिको लगावले उनका दुई छोरी र छोरालाई पनि आकर्षित गर्थ्यो । यसै क्रममा सारा, नङ्सला र रत्नजित पनि बेलाबेलामा बाबुको र्‍याकेट समाएर ब्याडमिन्टन खेल्थे । यो आकर्षणले उनीहरूलाई पनि प्रशिक्षण गराउन बाबुलाई बाध्य पार्‍यो भने बाबुलाई पनि आफ्ना सन्तान आफ्नै पदचापमा हिँडून् भन्ने थियो ।
नभन्दै २०५८ सालमा सारा र नङ्सलाले क्षेत्रीय प्रतियोगितामा पहिलो पटक उमेर समूहमा खेल्ने मौका पाएँ । यिनै तामाङ परिवारका नङ्सला र रत्नजितले एक दशकको कठिन अभ्यासपछि वि.सं. २०६९ मा पाकिस्तानको इस्लामाबादमा आयोजित योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनलमा मिक्स डबल्समा पहिलो भएर ब्याडमिन्टनमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भए । हाल नेपाली सेनाको क्लबबाट ब्याडमिन्टन खेल्ने तामाङ दिदीभाई अझै पनि ब्याडमिन्टनमा उत्तिकै सक्रिय रहेका छन् । रत्नजितले हालै सम्पन्न १३ औं सागमा नेपाललाई पुरुष एकलमा कांस्य पदकसमेत दिलाए ।

Page 31
खेलकुद

मैदानका दाजुभाइ

- हिमेशरत्न बज्राचार्य

दाजुभाइको सम्बन्ध फुटबलमा कस्तो हुन्छ, आमदाजुभाइकै जस्तो हुन्छ कि फरक हुन्छ ? एक प्रकारले यो जटिल प्रश्न हो । फुटबल मैदानमा खेलिने बलसँग मात्र जोडिन्न । यसका धेरै फरक आयाम छन् । यसको एउटा उल्लेखनीय पक्ष त भावनात्मक नै भयो । खुबै भावनात्मक हुन्छन्, फुटबलसँग जोडिएका सम्बन्धहरू, विशेषतः दाजभाइका सम्बन्धहरू । नेपालका लागि सबैभन्दा बढी खेलेको कीर्तिमान रहेको छ, विराज महर्जनको नाममा ।
उनी केही समयअघिसम्म नेपाली टिमका कप्तान पनि हुन् । उनले नेपालका लागि सर्वाधिक ७२ क्याप जितेका छन् । त्यो अर्थमा उनी निकै भाग्यमानी पनि छन्, अनि सफल पनि । तर उनले जुन दाजुको प्रेरणाले फुटबलमा प्रवेश गरे, तिनै दाजुले उत्तिकै अब्बल दर्जाको खेलाडी भएर पनि नेपालका लागि कहिले पनि खेल्न पाएनन् । र, उनी हुन्, विक्रम महर्जन । भन्नेहरू के पनि भन्छन् भने विराजको तुलनामा विक्रमको खेल कति राम्रो थियो, कति राम्रो ।
उनी एन्फा एकेडेमीको पहिलो ब्याचका सुरुवाती कप्तान थिए । तर उनले लामो समय खेल्न पाएनन्, शारीरिक कारणले । खालि उमेर समूहमै मात्र नेपालको प्रतिनिधित्वको अवसर पाए । अचेल प्रशिक्षकको भूमिकामा छन् । उनलाई सधैं दुःख छ, नेपालका लागि खेल्न नपाएकोमा । तर, यो दुःख त्यति बेला भुल्ने गर्छन्, जति बेला विराजले नेपालको जर्सी लगाएर खेल्छन् । यी प्रसंगमा यी दुई दाजुभाइसँग कुराकानी गर्नुपर्छ, दुवै भावुक हुन्छन् ।
विराज पनि एन्फा एकेडेमीकै उत्पादन हुन् । जुन दिन विराजले एकेडेमीका लागि ट्रायल दिएका थिए, त्यति बेला उनी विक्रमले लगाएर खेलेको जर्सीमा थिए । त्यसैले विराज बरोबर भन्ने गर्छन्, ‘म जे छु त्यसमा पूरा परिवारको ठूलो योगदान हुने भयो नै । त्यसमध्ये पनि दाजुका रूपमा विक्रमको ठूलो योगदान छ । नेपाली टिमका लागि खेल्दा खासमा म मात्र खेलिरहेको हुन्न, भावनात्मक रूपमा मसँग मेरो दाजु पनि हुने गर्छन् ।’
अब फेरि एकपल्ट प्रसंग सन्तोष साहुखलकै । जति बेला उनले ए डिभिजन फुटबलमा आफ्नो सय गोल पूरा गरे, उनको प्रतिक्रिया निकै भावशून्य थियो । त्यो ऐतिहासिक उपलब्धिमा न उनी खुसी नै देखिए, न त उनले हर्षले केही मीठा शब्द बोले । खासमा सन्तोष यस्तै छन्, चिसो मनका । उनी जापान बसेको केही वर्ष भयो, त्यसैले आमजापानीजस्तै उनको मन पनि केही कठोर भएकै हो त ? उनी नजिककाले नै ख्यालठट्टा गरे । च्यासलका प्रशिक्षक बालगोपाल साहुखल मान्छन्, सन्तोष सानैदेखि यस्तै छन् ।
‘सन्तोष आफ्नो खुसी देखाउन जाँन्दैनन्, यसको अर्थ उनी खुसी नै छैनन् भन्ने होइन । सय गोल गरेपछि उनी उत्तिकै खुसी थिए, तर देखाउन भने जानेनन्,’ बालगोपालले भने । अहिले चलिरहेको सहिद स्मारक लिग ए डिभिजनमा दाजु भाइबीचको सम्बन्धको एउटा विशिष्ट पक्ष यिनै सन्तोष र बालगोपालबाट देख्न पाइन्छ । यी दुईबीच बालगोपाल लगभग दुई वर्षभन्दा कम समयले जेठा छन् । दुवैले सँगै फुटबल खेल्न सिके । अझ भन्नौं भने सन्तोषका लागि दाजुले फुटबल खेल्न थाल्नु नै यो क्षेत्रमा प्रवेशको प्रेरणा भयो ।
कम्तीमा सन्तोष के भन्छन् भने बालगोपाल नहुँदो हो त उनी नेपाली फुटबलमा हुने थिएनन् । अनि सन्तोषको प्रत्येक सफलतामा उत्तिकै खुसी, अझ सके, धेरै खुसी हुनेमा पर्छन्, बालगोपाल । ‘सन्तोषको प्रगतिमा हाम्रो पूरा परिवार खुसी छ, तर सबैभन्दा बढी खुसी म नै हुन्छु होला,’ बालगोपाल भन्छन् । नेपाली फुटबलमा यस्तो दाजुभाइबीचको अद्वितीय सम्बन्धका खास खास उदाहरण छन् । बालगोपाल र सन्तोषको सम्बन्ध अहिले मैदानामा प्रशिक्षक र खेलाडीको छ ।
खेलाडी भएर एउटै टिमबाट खेलिरहेको उदाहरण पनि यसपल्टको लिगमै छ । जस्तो, रञ्जन विष्ट र अञ्जन विष्ट । दुवै अहिले मनाङ मर्स्याङ्दीबाट खेलिरहेका छन् । अञ्जन त अहिले क्लबका उपकप्तान पनि हुन् । भर्खरै मात्र उनले मनाङका लागि केही खेल खेले, किनभने लिगका सुरुवाती चरणमा उनी प्रतिबन्धबाट गुज्रिरहेका थिए । भुटानमा कुवेतविरुद्धको विश्वकप छनोट खेल्न जानुअगाडि उनी डिस्को काण्डमा फसे र त्यसै कारणले केही समय प्रतिबन्धमा परे ।
त्यसैबारे भर्खर बोल्दै अञ्जनले भनेका छन्, ‘मेरो जीवनको एक मात्र उद्देश्य फुटबल खेल्नु हो, तर त्यो प्रतिबन्धको समय मैले फुटबल खेल्न पाइनँ, मलाई कति दुःख लाग्यो होला, त्यो बयान गरेर साध्य छैन । यो प्रतिबन्धको समय मेरो जीवनका लागि ठूलो पाठ सावित भएको छ ।’ जति बेला यो घटना भर्खर–भर्खर बाहिर आएको थियो, त्यति बेला अञ्जनको बचाउ गर्ने काम गरेका थिए यिनकै दाजु रञ्जनले । रञ्जनको प्रेरणाले नै अञ्जनले पनि फुटबल खेल्न थाले ।
अनि जति बेला आफ्नो भाइ ठूलै समस्यामा परे, उनले अनौपचारिक रूपमै सही भनिरहेका थिए, ‘बाहिर जस्तो देखिएको छ, मेरो भाइ त्यस्तो होइन ।’ अझ उनको आसय हो, बाहिर देखिएजस्तै अञ्जन नेपाली फुटबलका खलनायक पात्र होइनन् । यी दुई दाजुभाइलाई नजिकबाट चिन्नेले भन्ने गर्छन्, उनीहरूबीच गज्जबको दोस्ती छ । त्यो डिस्को काण्डमा फसेका एउटा अर्को सोझो खेलाडी सन्तोष तामाङ पनि हुन् । सन्तोषकै शब्दमा उनी त्यो प्रतिबन्धको समय नरोएको दिन थिएन ।
अहिले उनी आर्मीबाट खेल्छन् र टिमका प्रमुख खेलाडी हुन् । उनकै आगमनपछि त हो, आर्मीले राम्रो खेल्न थालेको छ । अब त आर्मी लिग उपाधिको सबैभन्दा बलियो दावेदार समेत भएको छ । सन्तोष पनि आफ्नै दाजुको प्रेरणाबाट नेपाली फुटबलबाट आएका हुन्, अझ उनले घरेलु फुटबलमा आफ्नै दाइका कारण आर्मी रोजे । उनका दाइ हुन्, अर्का चर्चित खेलाडी, राजु तामाङ । अचेल राजुले खेल्न छाडिसके, तर अहिले सन्तोष नेपाली फुटबलको हुनुको एउटा कारण राजु नै हुन् ।
अहिले खेलिरहेका खेलाडीमध्ये विजय धिमाल र रञ्जित धिमाल पनि दाजुभाइ नै हुन् । नेपाली फुटबलमा यी दाजुभाइको उदाहरण पेस गर्दा सबैभन्दा चर्चित जोडी त वसन्त गौचन र विसन गौचनकै हुन्छ । सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबलमा उत्कृष्ट खेलाडी घोषित भएका थिए, वसन्त । त्यति बेला उनी भर्खरका थिए र नेपालले स्वर्ण पदक जित्न नसकेपछि मैदानमै घोप्टे परेर लामै समय रोए । त्यति बेला सबै भावुक भएका थिए, धेरैले आफूलाई रोक्न सकेनन् ।
यस्तोमा उत्तिकै भावुक हुने एकजनामा थिए, यिनै विसन । त्यसै कारण उनी पनि आफ्नो दाइजस्तै फुटबलमा लागे । दुवैले नेपाली टिमको प्रतिनिधित्व गर्दै खेल्न पाए । तर त्यो पक्कै पनि फरक कालखण्ड थियो । नेपाली महिला फुटबलमा भने दिदीबहिनीको प्रसंगमा सबैभन्दा अगाडि आउने एक मात्र दुर्लभ जोडीको नाम हो— गंगा र जमुना गुरुङको जोडी । उनीहरू त अझ जुम्ल्याहा हुन् । अनि दुई दिदीबहिनीमध्ये जमुना नेपाली महिला फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

खेलकुद

साख्य दाजुभाइ–दिदीबहिनी

- साप्ताहिक संवाददाता

एकै बाबुआमाका सन्तानले अन्तर्राष्ट्रिय खेलकुद वृत्तलाई चर्चाको शिखरमा धेरै पटक पुर्‍याएका छन् । विश्वको खेलकुद क्षेत्रमा यस्ता खेलाडीहरूको उपस्थिति धेरै पहिलेदेखि हुँदै आएको हो भने यो क्रम अझै छ । एकै परिवारका सन्तानको उपस्थिति टिम गेमका खेलमा खेलाडीहरूमा बढी देखा पर्ने गरेको छ भने एकल खेलमा पनि उनीहरूको उपस्थिति रहेको देखिन्छ ।
अमेरिकी टेनिस खेलाडी भेनस बिलियम र सेरेना बिलियम दिदी–बहिनीका रूपमा घरमा जति मिलेर बस्छन् अन्तर्राष्ट्रिय टेनिस कोर्टमा उनीहरूबीच कडा प्रतिस्पर्धा हुन्छ । बुबा रिचर्ड बिलियमको प्रशिक्षणमा टेनिस कोर्टमा उत्रिएका भेनस र सेरेनाबीच सन् १९९८ देखि अहिलेसम्म ३० वटा प्रोफेसनल प्रतियोगितामा आमनेसामने भइसकेको छ । दिदीले बहिनीलाई र बहिनीले दिदीलाई पराजित नगरी अगाडि बढ्न नसक्ने अवस्थामा पुगेपछि दिदी भेनसले बहिनी सेरेनालाई केवल १२ पटक पराजित गरेकी छन् भने सेरेनाले दिदी भेनसलाई १८ पटक पराजित गरेकी छन् । उनीहरूबीच ग्रान्डस्ल्याम प्रतियोगितामा भने १५ पटक आमनेसामने प्रतिस्पर्धा भएको छ, जसमा सेरेनाले १० खेलमा र भेनसले ५ खेलमा मात्र जित हात पारेकी छिन् । सेरेनाले हालै टेनिस वर्ल्ड टुडेलाई भनिन्, ‘म टेनिसको प्रत्येक खेलमा रमाइलो होस् भन्ने चाहन्छु, यही पारामा खेल्दा मलाई प्रतिद्वन्द्वी को छ भन्ने खासै लाग्दैन, जसमा मेरी दिदी पनि बेलाबेलामा मबाट पराजित हुनेमै पर्छिन् ।
सन् २००० को अमेरिकी ओपन र अस्ट्रेलियन ओपन जितेर चर्चामा आएका मारात साफिनकी बहिनी डिनारा साफिन पनि टेनिस खेलकै चर्चित खेलाडी हुन् । महिला टेनिसको शीर्ष वरियताक्रममा समेत रहेकी साफिन परिवार मात्र पहिलो परिवार हो, जसमा दाजुबहिनीले शीर्ष वरियताक्रममा आफूलाई उभ्याउन सफल भएका थिए ।
टेनिस खेलमै दिदीबहिनीको चर्चा गर्दा पोल्यान्डकी खेलाडी एग्नेस्का राडवास्का र उर्जुला राडवास्का दिदीबहिनीको नाम पनि आउँछ । सन् २०१५ मा आयोजना भएको होपम्यान कप जितेर एग्नेस्काले डब्लूटीए प्रतियोगिता जितिन् भने उर्जुलाले आईटीएफ प्रतियोगिता जितेकी थिइन् । यी दिदीबहिनीको सफलतालाई पछि पोल्यान्ड सरकारले गोल्डेन क्रस एवार्डवाट सम्मानसमेत गरेको थियो ।
एन्डी मुरे र उनका दाइ जामी मुरे टेनिसको वरियताक्रममा लामो समय शीर्ष स्थानमा रहे । एन्डीले आफ्नो टेनिस करिअरमा ४६ वटा उपाधि जितेका थिए । सन् २०१६ मा करिअरको उकालो लागेको अवस्थामा उनी पुरुष टेनिसको शीर्ष स्थानमा थिए । उनका दाई जामीको जोडी मेन्स डबल्समा ब्रुनो स्वरेससँग रहेको थियो । पुरुष डबलमा यी खेलाडीले पनि सन् २०१६ को वर्षमा धेरै उपाधि जितेका थिए ।

Page 32
जाँदाजाँदै

मिडियाको हौसला बढाउने जिम्मेवारी राज्यकै हो

- साप्ताहिक संवाददाता
तस्बिर : नवराज वाग्ले

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ खरो र हक्की स्वभावका मानिन्छन् । उनी संसदीय अभ्यासमा कानुन निर्माण शैलीमा समस्या रहेको बताउँछन् । सरकारले ल्याएका विधेयकहरूमाथि विवाद सिर्जना भइरहेका बेला श्रेष्ठसँग साप्ताहिकका लागि जनक तिमिल्सिनाले गरेको कुराकानीः

 

अभिव्यक्ति स्वतन्त्रतालाई फौजदारी कसुरअन्तर्गत राखेर विधेयक ल्याउने तयारी गरेको भन्दै सरोकारवालाहरू चिन्तित छन् । अभिव्यक्ति स्वतन्त्रता फौजदारी कसुर बन्न सक्छ ?
अभिव्यक्ति स्वतन्त्रता पनि कही फौजदारी कसुर हुन्छ र ? अभिव्यक्ति स्वतन्त्रता मान्छेको जन्मजात हक हो । कुनै संविधान, ऐन, कानुनले नलेखे पनि बोल्न पाइन्छ । भर्खरै जन्मेको बच्चाले बोल्नका लागि कुनै हक पढेको हुन्छ ? उसले आमासँग दूध चाहियो, भोक लाग्यो भनेर रुनलाई ऐन, कानुन चाहिन्छ र ? काँडा घोचेमा ऐय्या भन्नलाई ऐन कानुन संविधान चाहिन्छ र ? अभिव्यक्ति स्वतन्त्रता जन्मजात, नैसर्गिक, अविच्छेद हक हो । अभिव्यक्ति स्वतन्त्रतालाई अपराधीकरण गर्नु प्रकृति र मान्छेले नसोचेको कुरा हो । त्यसकारण यो अपराधीकरण हुन सक्दैन ।

सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतासँग जोडिने गरी दण्डनीय बनाइएको भनिन्छ नि ?
यसलाई नै अभिव्यक्ति स्वतन्त्रताको अपराधीकरण भन्न मिल्दैन होला । अभिव्यक्ति स्वतन्त्रताको नियमन भन्ने एउटा पक्ष होला । किनभने, अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत अपराधको दुरुत्साहन गर्ने, राष्ट्र विप्लव गर्ने, राष्ट्रिय स्वाधिनताविरुद्ध षड्यन्त्र गर्ने, संगठित अपराधको कडीका रूपमा प्रयोग गर्ने भयो भने त्यसलाई नियन्त्रण गर्ने नियमन गर्ने कुरा एउटा होला तर त्यो भन्नुभन्दा अगाडि मानिस अभिव्यक्ति स्वतन्त्रताको अधिकार त राख्छ नि त । व्यक्त भएको अभिव्यक्ति गैरकानुनी छ भने त्यसको प्रकृति हेरेर उपचार गर्ने कुरा एउटा हो । बोल्नुभन्दा अगाडि नै यो अपराधीजस्तो छ त भन्नुभएन नि !

विरोधीलाई ठेगान लगाउन यो विधेयक प्रयोग हुन सक्ने आशंका कति बलियो मान्नुहुन्छ ?
विधेयकको रौँचिरा विश्लेषण गर्ने परिस्थितिमा म छैन । म दुई कुरा भन्छु– हकको मान्यता एउटा पक्ष हो, हकको नियमन दोस्रो पक्ष । हकको दुरुपयोग वा हकको अपराधीकरण गर्ने तेस्रो पक्ष हो र चौथो पक्ष त्यसको उपचारको व्यवस्था हुन्छ । हरेक कानुनको यति चरण हुन्छ । हक नियमित गर्ने भन्ने हकको दुरुपयोग गर्दाखेरी उत्पन्न हुने समस्याहरू राष्ट्र, समाज, व्यवस्था, पद्धति, प्रक्रिया, कानुन सबैमा पर्ने पद्धतिहरूको निरोध गर्ने हिसाबले गर्ने नियमितताको कुरा त्यहाँनेर हो । त्यो नियमितता वान्छित हुनुपर्छ । मुद्रा अपचलन, संगठित अपराध, आतंकवाद, राष्ट्र विप्लवका कुराहरू हुन भने राज्यको स्वार्थमा त्यसलाई निगरानी त गर्नुपर्ने हुन्छ ।

राज्यले नागरिकलाई निगरानी गर्न सक्छ त ?
जो शंकित व्यक्ति वा सम्प्रदाय हो त्यसलाई निगरानीमा राख्ने कुरा एउटा हो, निगरानी कति गर्ने ? २४ सैं घण्टा वा जन्मभरि त्यसको मनासिव हद होला, प्रक्रिया होला त्यो भन्ने कसले नि ? त्यो भन्ने पनि व्यक्ति अथवा अधिकारी होला, त्यो अधिकारीको पनि सीमा हुनुपर्‍यो । त्यो अधिकारीले अख्तियारको दुरुपयोग गरेमा के गर्ने ? त्यसले मेरो हक आवश्यकताभन्दा बढी नियन्त्रण गरेर हक बेमाख पारिदियो भने उसको पनि उत्तरदायित्व हुँदैन् । वाक स्वतन्त्रता छ भनेर लेखेर दिने तर बोल्न बन्द गरिदिने त भएन नि । मलाई स्वतन्त्रता दिनुको अर्थ त मलाई उपभोग गर भनेको हो । त्यो उपभोग गर्नका लागि मिडियाको सहयोग चाहियो, टेलिभिजन चाहियो, बोल्दाखेरि अवरोध नगर्ने परिस्थिति चाहियो । जनताको असहायपन बढाउने र राज्यको अख्तियारी बढाउने प्रक्रिया हो भने प्रजातन्त्र दुर्बल हुँदै गएको परिस्थिती निर्माण हुन्छ । प्रजातन्त्रमा जनता बलियो हुनुपर्छ, राज्य पनि बलियो हुनुपर्छ, राज्य कतिसम्म बलियो हुनुपर्छ भने जनताले बलियो बनाउने क्षमता बढाउनेसम्मको मात्रै जरुरी हुन्छ । जनतालाई कमजोर बनाएर राज्य बलियो हुन पाउदैन ।

यो कानुन संविधान प्रदत्त अधिकारसँग पनि बाझिन्छ भनिन्छ नि ?
संविधानमा अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको दुइटा हक छ । यो दुइटा हकसम्बन्धी ऐन पो बनाउनुपर्‍यो त । गोपनीयता कति हदसम्म गोपनीय रहन्छ, त्यसको सुरक्षा कसरी हुन्छ, उल्लंघन गर्‍यो भने के हुन्छ, क्षतिपूर्ति पाउँछ कि पाउँदैन, अपराध गरेको भए दण्डनीय हुन्छ कि हुँदैन, लेख्नुपर्दैन ? ऐन बनाउनु पर्दैन ? गोपनीयता हकको ऐन बनाउँदै नबनाइकन जनताको आफ्ना निजी सूचनाको संरक्षण गर्ने कुराको ऐन बनाउँदै नबनाई, तिम्रो सूचनाबाट मलाई खतरा भयो, तिम्रो खतरामाथि म हावी हुन्छु भन्न हुन्छ ? यो विधेयकका कारण जनताले बोल्दाखेरि खतरा महसुस गर्छन् र कारबाहीको घेरामा पर्छु भन्ने ठानेर बोल्न छाड्यो भने त्यो प्रजातन्त्र होइन ।

त्यसका लागि राज्यले कसरी काम गर्नुपर्छ ?
मैले सबै दफाहरू असान्दर्भिक छन, नियमन जरुरी छैन भन्न खोजेको होइन । तर, जनताको आवश्यकता र राज्यको आवश्यकताको बीचमा तालमेल हुनुपर्छ, दुइटामा को बलियो हुने भन्ने प्रतिस्पर्धा होइन । यस्तो विधेयक विज्ञ समुदायदेखि प्रभावित हुने जनस्तरसम्म छलफलमा लानुपर्छ । कुनै मन्त्रालय, विभाग वा विशेषज्ञ समूहले उचित ठानेको कानुन राष्ट्रको कानुन हुन सक्दैन । राष्ट्रको कानुन हुन राष्ट्रले स्वामित्व ग्रहण गरेको हुनुपर्छ । त्यस्तो स्वामित्व ग्रहण गरेको कानुन बनाउने पद्धतिमा संसदमा बहस गरेर मात्रै पुग्दैन, सरोकारवालाका समस्या वा आकांक्षा–अपेक्षा सम्बोधन गरेर कानुन बनाउनुपर्छ । तर, हामीसँग त्यो संस्कृति नै छैन । ऐन सरकार वा संसद बनाउने हो भन्ने राजनीतिक संस्कृति छ, जुन कुरा होइन् । ऐन राज्यको हो, जनताको हो । जनताका लागि बनाउने हो, जनताले मान्ने कानुन बनाउनुपर्छ । जनताले त्यो ऐन निर्माणको प्रक्रियामा सहभागिता, स्वामित्व र अपनत्व जबसम्म महसुस गर्दैन्, तबसम्म त्यो कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुँदैन् । त्यस्तो कानुनका विरुद्ध जहिल्यै पनि कानुन उल्लंघन गर्ने प्रवृत्ति देखिन्छ । जनताले नजानेको कानुन मान्न सक्छ ? जनतालाई मन नपरेको कानुन मान्ने प्रवृत्ति देखाउँछ ? देखाउँदैन ।

अहिले दुईतिहाईको बलियो सरकारले आफूअनुकूल कानुन बनाउन पाउँछ, होइन र ?
दुईतिहाई भनेको संसद्भित्रको हो । यो संसद्को विधि प्रक्रिया तौरतरिका र आवश्यक संख्याको कुरा हो । कानुनमा त्योभन्दा ठूलो तत्वको धेरै आवश्यकता हुन्छ । पहिला वैध अपेक्षाहरूका कानुन बनिनुपर्छ । कानुनमा वैधता चाहिन्छ, कानुनको स्वीकार्यता चाहिन्छ । दुईतिहाईले स्वीकार गर्ने बित्तिकै जनताले पनि स्वीकार गरेको मान्ने कुराको अनुमान केमा आधारित छ ? संसदको दुईतिहाईले मानेपछि जनता पूरैले मानेको हुन्छ भन्ने त हुँदैन । त्यसैले जनतालाई निरन्तर परामर्शमा राखिनुपर्छ र जनताको अभिमतलाई ऐनमा मुखरित गर्‍यो भने मात्र सम्पूर्ण रूपमा प्रजातान्त्रिक कानुन बन्छ ।

सामाजिक सञ्जाल, इन्टरेट प्रयोगबाट सरकारमा किन डराएको होला ?
आफू सत्तामा रहेको बेलामा ‘अरू सबै चुप लागुन् म मात्रै बोलुँ’ भन्ने हो भने अभिव्यक्ति स्वतन्त्रता लेख्नै परेन । यदि सत्तामा हुँदा या नहुँदा जहाँ हुँदा पनि बोल्न पाउने हकलाई अभिव्यक्ति स्वतन्त्रता भन्ने हो । अभिव्यक्ति स्वतन्त्रताका माध्यममा मानिसहरूको नयाँ–नयाँ परिकल्पना, अभ्यास, बुझाइअनुसार नवीनतम प्रविधिको उपयोग भइरहेको छ । यिनै प्रविधिले गर्दा अहिले सामाजिक सञ्जाल जस्ता कुराहरू आइरहेका छन् । म भन्दिनँ– सामाजिक सञ्जालको सदुपयोग भएको छ भनेर । सामाजिक सञ्जालले मानिसहरूलाई बोल्ने अधिकार मात्र दिएको छैन, बोल्ने मानिसलाई चुप लाग्ने अवस्था सिर्जना गरिदिएको छ । किनभने सामाजिक सञ्जाल भनेको एउटा माध्यम हो यसको सदुपयोग र दुरुपयोगका प्रभावहरू सबै रहन्छन् । कसैले कसैलाई कहीँ पनि गाली गर्न पाइँदैन । सामाजिक सञ्जालमै कतिपयले मुख छाडेको, जे पायो त्यही लेखेको र त्यसमा अनुसन्धान नगरिरहेको र जनताले सहनुपरेको अवस्था पनि छ । त्यसको त निगरानी गर्न सकिन्छ । सामाजिक सञ्जाललाई पनि मर्यादित सभ्य, प्रजातान्त्रिक त बनाइराख्न सक्नुपर्‍यो नि । त्यस्ता काम गर्न यो ऐनले रोकेको हुँदैन र त्यस्तो अवरोध पनि छैन । तर, सामाजिक सञ्जालका कुराहरूलाई हामी अति संवेदनशील भएर यसलाई बन्द गर्ने हदसम्म लैजान मिल्दैन ।

सरकारले मानवअधिकार, नागरिक समाज, मिडियामाथि प्रहार गर्न खोजेको भनिएको छ । यो समस्याको निराकरणको उपाय के हुन सक्छ ?
राज्य जति बलियो हुन्छ, त्यति धेरै संयम हुन जरुरी छ । बलियोले बल देखाउने होइन, बलियोले बल सिकाउने हो । निर्धोले बल देखाउने हो । मानवअधिकार, मिडियाका कुरा, नागरिक समाजजस्ता कुराहरू प्रजातन्त्रका तत्वहरू हुन् । यिनीहरूको हौसला घटाउने गरी कुनै पनि काम गर्नुहुँदैन । सरकारको सुदृढतामा भन्दा पनि हाम्रो स्वार्थ प्रजातन्त्रको सु–सञ्चालनमा छ । सरकार त अदलबदल भइरहन सक्छ तर सरकारको परिवर्तनले प्रजातन्त्रको प्रकृतिमा परिवर्तन हुनुहुँदैन । त्यसैले मानवअधिकार, नागरिक समाज, मिडियाहरूको हौसलालाई बुलन्द गर्ने जिम्मेवारी सरकारकै हो । यिनीहरूलाई परास्त गरेर सरकार बलियो हुँदैन । यी संस्था भनेका सरकारको सञ्चालनमा खबरदारी गर्ने संस्था हुन् । खबरदारी किन हुन्छ भने कहिलेकाहीँ हामी होस गुमाउन पनि सक्छौं तर यी संस्थाहरू भनेको हाम्रो होस ठेगानमा राखी राख्नका लागि चाहिने संस्थाहरू हुन् । यी भनेका प्रजातन्त्रका निगरानीकर्ता, मापक हुन् । साथै यी प्रजातन्त्रका सचेतकहरू पनि हुन् । प्रजातन्त्रका सचेतकहरू अचेत भए प्रजातन्त्र स्वयंम पनि अचेत हुनसक्छ । त्यसैले यिनीहरूको खिलापमा कुनै षड्यन्त्र, दमन भएको सोंच्न सक्दिनँ ।