थानेश्वरको गिनिज–यात्रा
थानेश्वर गुरागाई १९ वर्षका थिए, जतिबेला उनले पहिलो पटक गिनिज बुकमा विश्व रेकर्ड राखे । एक मिनेटमा ४ सय ४४ पटक बास्केटबल बाउन्स गरेर उनले आफ्नो करियरमै पहिलो फड्को हानेका थिए । त्यसअघि एक मिनेटमा ३ सय ८४ पटक बास्केटबल बाउन्स गरेर नेदरल्याण्डका नागरिक किरन हार्पलले रेकर्ड बनाएका थिए । यो रेकर्ड तोड्न थानेश्वरले ठूलै संघर्ष गर्नुपर्यो ।
गिनिज रेकर्ड सर्च गर्दै जाँदा थानेश्वरले गुगलमा कैयन त्यस्ता रेकर्ड देखे, जुन आफूले तोड्न सक्छु भन्ने उनीभित्र आत्मविश्वास पलाउन थाल्यो । त्यसपछि उनले गिनिज रेकर्डर आश्रिता फर्म्यानको रेकर्ड पल्टाएर हेरेँ, जसले सयभन्दा बढी विश्व रेकर्ड बनाएका छन् । थानेश्वरले त्यसैमध्ये एउटा रेकर्ड रोजे । त्यो थियो– बास्केटबल बाउन्सेस इन वान मिनेट । ती अमेरिकी नागरिकले एक मिनेटमा ३ सय २० पटक बास्केटबल बाउन्स गरेको रेकर्ड रहेछ । तबला बजाउन अभ्यस्त थानेश्वरलाई रेकर्ड तोड्न सक्छु भन्ने आत्मविश्वास बढ्यो । लगत्तै उनी बजार गएर बास्केटबल किने ।
बास्केटबल किनेपछि उनले निरन्तर अभ्यास गरे । थुप्रैपटकको अभ्यासमा एक मिनेटमा एक सय ५० भन्दा बढी बाउन्स नै भएन । पछि गुगलमा खोज्दा ३ सय २० लाई पनि उछिनेर एक अमेरिकी नागरिकले ३ सय ८४ पटक बाउन्स गरिसकेको भेटे । यता आफ्नो अभ्यास जति बढाउँदा पनि स्पिड नबढेपछि थानेश्वर निराश हुन लागे । तर, हार मान्न नजान्ने उनको स्वभाव । आफ्नो मेहनतलाई जारी राखे । बिहान ६ बजेदेखि ७ बजेसम्म दैनिक १३ घण्टा अभ्यास गर्नु उनको दैनिकी बनेको थियो । यसरी अभ्यास गर्दा धेरैको सोचाइमा उनी ‘पागल’समेत ठहरिए ।
अभ्यास गर्ने क्रममा धेरैपटक उनको हात ‘फ्रिज’समेत भयो । परीक्षामा लेख्दा हात रोकिएर कतिपटक त लेख्नसमेत सकेनन् उनले । अस्पतालमा गएर चेककप गराए । उनको महिनौंसम्मको अभ्यासले एकदिन सार्थकता पायो । उनले एउटै हातले एक मिनेटमा ४ सय ४४ पटक बास्केटबल बाउन्स गर्न सक्ने भए । ‘पहिले राखिएको रेकर्डमा २ वटा हातले बाउन्स गरिएको रहेछ । तर, मेरो एउटै हातले ४ सय ४४ पटक जाने भयो,’ थानेश्वर सम्झन्छन् ।
उनी बल्ल रेकर्ड तोड्न सक्ने त भए । तर, रेकर्ड राख्ने प्रक्रिया निकै झन्झटिलो ।
सुरुमा त गिनिजलाई ‘एप्लिकेसन’ पठाउनुपर्थ्यो । ‘एप्लिकेसन’ पश्चात् योग्य ठहर गरेर उताबाट निर्देशन दिन नै ३ महिना लाग्थ्यो । बास्केटबलसम्बन्धी राम्रो ज्ञान भएको व्यक्ति आफ्नो रेकर्डको साक्षी हुनुपर्थ्यो । उनले त्यतिबेला बास्केटबल एसोसिएसनका अध्यक्ष टेण्डी शेर्पा, अखिल नेपाल तेक्वान्दो एसोसिएसनका अध्यक्ष अनुयाज गौतम लगायतलाई निर्णायक राखे । सँगै दुई जना राष्ट्रिय खेलाडीलाई ‘टाइम किपर’ राखे । रेकर्डको समाचार पत्रपत्रिकामा आउनुपर्थ्यो । उनको कुनै पत्रकारसँग चिनजान थिएन । विभिन्न सम्पर्कमार्फत् केही पत्रकारलाई समाचारका लागि आग्रह गरे ।
रेकर्डको भिडियो फुटेज, फोटोलगायत सबै डकुमेन्ट्री व्यवस्थित साथ पठाउनुपर्थ्यो । खुसीको कुरा, उनले जो–जोसँग सहयोग मागे । सबैले निःश्वार्थ सहयोग पनि गरे ।
अन्ततः दाहिने हातले बास्केटबल बाउन्स गरेर सन् २०१० को अक्टोबर १० तारिखमा उनले रेकर्ड दर्ता गरे र डकुमेन्ट गिनिजलाई पठाए । २०११ जनवरीमा डकुमेन्ट स्वीकृत भएर सर्टिफिकेट आयो । गिनिज बुकमा आफ्नो करियरको पहिलो रेकर्ड बनाउन उनी सफल भए ।
बदलिएको बाटो
उमेरले भर्खरै ३० टेकेका छन् थानेश्वर । पछिल्लो पटक पेरिसमा ४ वटा रेकर्ड एकैपटक ब्रेक गरेसँगै गिनिज बुकमा २२ वटा रेकर्ड राखिसकेका छन् । यसलाई नेपालमात्र नभई सिंगो एसियामै हाइयस्ट रेकर्डको सूची मानिन्छ । तर, उनको सपना यतिमै सीमित छैनन् । भन्छन्, ‘५१ वटा रेकर्ड पुर्याउने मेरो योजना छ ।’
यसरी अनौठो किसिमले रेकर्ड राख्नमा माहिर थानेश्वरको बाल्यकाल पनि उत्तिकै रोचक छ । संखुवासभामा जन्मेका उनी सानोमा निकै चञ्चले थिए । रूखको हांगामा हिँडेर वा झ्यालका भित्ताहरू चढेर सबैलाई अचम्मित पार्थे । आफ्नो ‘चकचके’ स्वभावका कारण सधैं घरमा अभिभावकको पिटाइ खान्थे उनी । तर, जति पिटाइ खाए पनि त्यो चकचकेपन र हुटहुटी उनको स्वभावबाट हटेन । ११ वर्षको उमेरमा पहिलो पटक उनले गिनिज बुकको बारेमा दाइ, दिदीहरूबाट थाहा पाएँ । त्यतिबेलै उनलाई लागेको थियो– म पनि गिनिज बुकमा नाम लेखाउन पाएँ । सोच आए पनि बालक थानेश्वरले यो कुरा तत्कालै बिर्सिहालें । कक्षा ८ मा पढ्दा पढ्दै उनको अध्यात्मतिर झुकाब भयो । अध्यात्ममा लाग्दा उनले त्यतिबेलै बुझ्ने मौका पाए– आफूभित्रै अभूतपूर्व शक्ति हुन्छ । आफूले चाह्यो भने असम्भव भन्ने कुरा नै केही हुन्न ।
अध्यात्मको रस पसिसकेका थानेश्वर एसएलसी पास गरेपछि काठमाडौं पुगे । पुरानोबानेश्वरस्थित सिद्धाश्रम शक्ति केन्द्रमा उनले ५ वर्ष बिताए । आश्रममा बस्दा उनले मानिस भित्रको शक्ति बुझे । मुक्ति र मोक्षबारे खोजी गरेँ । भजन गाउँदा तबला बजाउन सिकेँ ।
ध्यानमा रमाउने थानेश्वरको बाटो त्यो दिनबाट बदलियो, जुन दिन उनको दिमागमा एउटा शब्दले ‘क्लिक’ गर्यो ।
थानेश्वरलाई कुरै कुरामा एकदिन एउटा साथीले भने, ‘तपाईं कति धेरै बोल्नसक्नु हुन्छ नि । यसरी बोलेरै गिनिज बुकमा नाम लेखाउनु होलाजस्तो छ ।’ सामान्य व्यंग्य गरिएको भए पनि थानेश्वरलाई ‘गिनिज बुक’ भन्ने शब्दले तान्यो । त्यसपछि उनलाई लाग्यो– मैले पनि गिनिज बुकमा नाम लेखाउन सक्छु । त्यसपछि उनको यात्रा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’तर्फ अगाडि बढ्यो ।
रेकर्डपछाडि थानेश्वरलाई प्रोत्साहन र तारिफ गनेहरू मात्र भेटिएनन् । रेकर्ड राखेको विश्वास नगर्ने पनि उत्तिकै भेटिए । तर, विश्वास नगर्नेहरूप्रति उनको कुनै गुनासो रहेन । बरु परिवारलाई खुसी बनाऊँ भन्ने लागेको थियो थानेश्वरलाई । परिवारलाई भने त्यो रेकर्डको कुनै चासो थिएन । थियो त राम्रो जागिर नखाएकोमा हरदिन गुनासो ।
तैपनि उनी पछि हटेनन् । दोस्रो पटक पनि रेकर्ड राखे– गिनिज बुकलाई आधा घण्टा औंलामा राखेर घुमाएर । त्यसअघि ६ मिनेटको मात्रै रेकर्ड थियो । दोस्रो रेकर्डपछि उनमा गिजिज बुकको बानी पस्दै गयो ।
चोटमा पनि खुसी
रेकर्ड राख्ने कुरा उनको अनुभवमा त्यति सहज छैन । कसैले जस नदिने कुरा त छँदै छ । तर, कतिपटक ठूलै चोटपटक लागेर अस्पताल बस्नुपरेको नमीठो क्षण पनि थानेश्वरले भोगेका छन् । तापनि उनको विश्वास छ, ‘जति चोट पटक लागोस् सहन्छु । तर मैले गरिनँ भने चोटभन्दा नगर्नुको पीडा बढी हुन्छ ।’ धखएकपटक ग्यास सिलिन्डर चिउँडोमा ‘ब्यालेन्स’ गर्न खोज्दा उनी चिप्लिन पुगे । सिलिन्ड झरेर चिउँडो हुँदै छातीमा बेसरी बजारियो । उनी लामो समय मुर्छा र अचेत परे । धेरै दिनसम्म उनलाई त्यो चोटले दुखाइरह्यो ।
सन् २०१६ तिर, उनी नाकमा १५ मिटरको पोल ब्यालेन्स गर्दै थिए । दुर्भाग्य, लक फुस्किएर १५ मिटर माथिबाट पाइपहरू झरे । एउटा मात्र होइन, चार पाँचवटा पाइप लगातार नाकमा ठोकिए । नाक भाँचियो । अनुहार रगताम्य भयो । अचेत थानेश्वरलाई तत्काल टिचिङको इमर्जन्सीमा लगियो । दुई दिनसम्म अस्पताल राखियो ।
धेरै महिना त उपचारमै बित्यो । त्यसपछि त्यो रेकर्डका लागि उनले अभ्यास गर्नै पाएनन् । पछि प्रयास त गरे, तर दुखाइका कारण सम्भव भएन । उनको नाक अझै पनि बांगो छ । अहिलेसम्म नाकको उपचारमा उनी धाई रहन्छन् । शारीरिक चोट पाए पनि थानेश्वरलाई आफूले केही गुमाजस्तो लाग्दैन । भन्छन्, ‘मैले केही नहुँदा सुरु गरेको चिज, अहिले यति धेरै नाम र सम्बन्ध कमाएको छु ।’
नेपाली हुनुको गर्व थानेश्वर चर्चामा कहिल्यै रमाउन सकेनन् । ‘सेलिब्रेटी छवि’बाट उनी टाढा छन् । ‘मेरो प्रकृति नै चर्चाबाट टाढा रहने किसिमको छ । म व्यस्तता र मेहेनतमा रमाउँछु,’ उनी सुनाउँछन् ।
उनी आफ्नो विश्व रेकर्डकै कारण १८ वटा देशमा प्रस्तुतिका लागि पुगेका छन् । यसरी विभिन्न देश पुग्दा त्यहाँ उनी एउटै कुराले गर्व गर्छन्– म व्यक्ति होइन, नेपाल देशको प्रतिनिधि हुँ । ‘विदेशमा मैले प्रस्तुति दिँदा त्यहाँ कसैले मेरो नाम लिँदैनन् । बरु मेरो अनुहार हेरेर भन्छन्– नेपालको प्रस्तुति क्या राम्रो । त्यतिबेला मलाई जीवनकै सबैभन्दा खुसी महसुस हुन्छ,’ थानेश्वर मुस्कुराउँदै भन्छन् ।
बाइस रेकर्ड
१ एक मिनेटमा सर्वाधिक
बास्केटबल वाउन्स– ४ सय ४४ पटक
२ एक मिनेटमा सर्वाधिक पटक टेनिसको र्याकेटबाट छिर्ने– ३८ पटक
३ टुथ ब्रसमा सर्वाधिक लामो समय बास्केटबल घुमाउने– ४० सेकेन्ड
४ एकै पटक तीनवटा बास्केटबल सर्वाधिक लामो समय घुमाउने– १२ सेकेन्ड
५ तीन मिनेटमा सर्वाधिक पटक टेनिसको र्याकेटबाट छिर्ने– ९६ पटक
६ दुवै हात र खुट्टाको बुढी औंलामा एकै पटक सर्वाधिक लामो समय
बास्केटबल घुमाउने– १० सेकेन्ड
७ औंलामा सर्वाधिक लामो समय गिनेज बुक अफ वर्ल्ड रेकर्डस्को किताब
घुमाउने– ३० मिनेट
८ टाउकोमा सर्वाधिक लामो समय बास्केटबल घुमाउने– २६ सेकेन्ड
९ तीस सेकेन्डमा कम्मरमा वरिपरि सर्वाधिक फन्को मार्ने– ५६ पटक
१० तीस सेकेन्डमा टेनिसको र्याकेटबाट छिर्ने– २२ पटक
११ सर्वाधिक लामो समय बास्केटबल
खुट्टाको बुढी औंलामा घुमाउने– २० सेकेन्ड
१२ सर्वाधिक लामो समय बास्केटबल नाकको टुप्पोमा घुमाउने– ९.४० सेकेन्ड
१३ सर्वाधिक लामो समय बास्केटबल कुहिनोमा घुमाउने– १३.९२ सेकेन्ड (२ पटक)
१४ सर्वाधिक चाँडो टेनिसको र्याकेटबाट छिर्ने तीन पटक– ४.९१ सेकेन्ड
१५ चिउडोमा सर्वाधिक ५ वटा
कुर्सीलाई अडाउने
१६ ८ गुणा ११ इन्चको रिङ्गमा एक मिनेटमा सर्वाधिक पटक छिर्ने– १० पटक
१७ ८ गुणा ११ इन्चको रिङ्गमा तीन पटक सर्वाधिक छिटो छिर्ने– २१ सेकेन्ड
१८ सर्वाधिक लामो समय चेनस्अ (इलेट्रिकल काठ काट्ने रेती)लाई चिउडोमा
अड्याउने– ५ मिनेट ७ सेकेन्ड
१९ सर्वाधिक लामो समय साइकललाई चिउडोमा अड्याउने– १ मिनेट ५२ सेकेन्ड
२० एक मिनेटमा फलामको रिङमा सर्वाधिक पटक छिर्ने– १५ पटक
२१ कुर्सीलाई सर्वाधिक लामो समय
चिउडोमा अड्याएर राख्ने– ४ मिनेट १८ सेकेन्ड

![सूचना र मनोरंजनको संगालो साप्ताहिक [Saptahik]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/saptahik.png)






















































