कान्तिपुर कन्क्लेभ सम्पन्न
काठमाडौं– कान्तिपुर कन्क्लेभको दोस्रो संस्करण गत शुक्रबार र शनिबार होटल हायातमा आयोजना भयो । दुई दिन चलेको कन्क्लेभको पहिलो दिन विद्वत् प्रवचन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल छिट्टै जलमार्गसँग जोडिने बताए । उनले भने ‘भूपरिवेष्टित राष्ट्र नेपाल छिट्टै जलमार्गबाट विश्वसँग जोडिनेछ र हाम्रा ठूला नदीहरूमा राष्ट्रिय ध्वजावाहक पानीजहाज चल्न थाल्नेछन् ।’
कन्क्लेभमा विभिन्न विषयमा बहस भएका थिए । कार्यक्रमको पहिलो दिनको ‘लेसन्स फ्रम द इस्ट’मा निक्केई एसियन रिभ्यूका सम्पादक ग्वेन रोबिन्सन, एसियाली विकास बैंककी नीता पोखरेल र आईसीसीपी अध्यक्ष तथा कार्यकारी प्रमुख भ्यालेन्टिनो एस बगतसिंहले युरोपियन युनियनपछि सबैभन्दा धेरै जोडिएको दक्षिण–पूर्वी एसियाका बारेमा बहस गरेका थिए । सत्रको सहजकर्ता बिड म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी सुजीव शाक्य थिए ।
दोस्रो दिन पठाओका संस्थापक तथा प्रमुख कार्यकारी हुसेन एम इलिएसको विद्वत् प्रवचन थियो भने विभिन्न विषयमा आठवटा सत्र थियो । ‘कनेक्टिङ ग्लोबल नेपलिज’ सत्रमा भारतीय मूलका नेपाली लेखक प्रज्वल पराजुली, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मल्टिनेसनल कम्पनी ग्रोथ फर नलेज (जीएफके) का सागर तामाङले बहस गरेका थिए भने सत्रलाई सहजीकरण क्याटालिस्ट टेक्नोलोजीकी सीईओ प्रतिभा पाण्डेयले गरेकी थिइन् ।
त्यसैगरी शनिबारकै सत्रमा ‘नेपालमा मिटू अभियान किन अघि बढेन’ भन्ने विषयमा नेतृ मानुषी यमि भट्टराई, रङ्गकर्मी आकांक्षा कार्की तथा अधिवक्ता दुर्गा कार्कीले बहस गरेका थिए । राजनीति र स्वतन्त्रताको सवालमा नेपाल अघि बढिरहेको छ कि पछि जान लागेको छ भन्ने विषयको सत्रमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कांग्रेस नेता गगन थापा तथा मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीबीच छलफल भएको थियो ।

‘बदलिँदो भू–राजनीतिमा नेपाल’ शीर्षकमा समाजशास्त्री चैतन्य मिश्र, भारतीय प्राध्यापक महेन्द्र पी लामा र पूर्वराजदूत महेश मास्केबीच छलफल भएको थियो । कन्क्लेभको अन्तिम सत्रमा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परिसंवाद गरे । परिसंवादका क्रममा उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता छिट्टै अघि बढ्ने बताए । उनले भने– ‘म प्रधानमन्त्री भएकै बेला एमसीसीअन्तर्गत ५५ अर्ब आउने भयोभन्दा खुसी भएको थिएँ, एमसीसी सम्झौता तत्कालै अनुमोदन गरेको भए मुलुकमा यो विवाद हुने पनि थिएन । समयमै अनुमोदन नभएर विभिन्न कोणबाट विवाद हुँदा राम्रोसँग बुझेर मात्रै अघि बढाउन भनिएको हो,’ उनले भने ।



![सूचना र मनोरंजनको संगालो साप्ताहिक [Saptahik]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/saptahik.png)




































































