गत कात्तिकमा पाँचखाल, काभ्रेका ३८ वर्षीय अच्युत त्रिपाठीले बोकेको अडियो म्युजिक सिस्टममाथि प्रहरी शंकाको सुई सोझिन्छ । उक्त अडियो म्युजिक सिस्टम काठमाडौंस्थित डिलाइट होटलमा लगेर लुकाउने क्रममा चेकजाँच गर्दा १ किलो ४ सय ग्राम गाँजा फेला पर्छ । अनुसन्धानका क्रममा गाँजा फ्लाई दुबई एयरको ‘एयर कार्गो’ मार्फत क्यानडाबाट आएको पुष्टि हुन्छ । गाँजा कारोबारमा डिलाइट होटलका सञ्चालक सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेको समेत हात रहेको खुलेपछि प्रहरीले पक्राउ गरेर थप ‘नेक्सस’ खोतल्न थाल्छ । होटल गोदामबाट थप गाँजा र चरेस बरामद हुन्छ भने आयाततर्फको पारवहन गोदामबाट अर्को त्यस्तै अमेरिकाबाट पठाएको अडियो म्युजिक सिस्टमभित्र २ केजी गाँजा भेटिन्छ । अनुसन्धानबाट सुरेन्द्र र राजेन्द्र क्यानडा र अमेरिकाबाट गाँजा नेपाल भित्र्याउने कारोबारी रहेको तथ्य खुल्छ ।
प्रहरीका लागि विदेशबाट ‘नयाँ ब्रिड’को गाँजा नेपाल भित्रिने गरेको यो नौलो घटना थियो । लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरू पनि यो घटनाबाट अचम्मित भए । विदेशी गाँजाका कारोबारी नै पक्राउ परेपछि विदेशबाट आयात हुने गाँजा तस्करी रोकिने अनुमान प्रहरीको थियो, तर चार महिना नबित्दै उक्त अनुमान त्यतिबेला गलत सावित भयो, जब एक साताअघि सुन्धाराबाट अमेरिकाबाट ल्याइएको साढे दुई किलो ‘नयाँ ब्रिड’को त्यस्तै गाँजासहित दुई नेपाली समातिए । ‘नेचुरल न्युट्रेसन सोलुसन’ नामक प्याकमा भेटिएको अमेरिकी गाँजाको कनेक्सन भारतसम्म देखियो । समातिएका व्यक्तिलाई ‘टुल्स’का रूपमा प्रयोग गर्दै प्रहरीले दुई जना भारतीयलाई काठमाडौं बोलायो । प्रहरीले ती दुईलाई पक्राउ गरेर थप अनुसन्धान जारी राखेको छ ।
नेपालमा क्यानडा र अमेरिकाबाट कार्गो तथा कुरिअरमार्फत ‘स्कंक ब्रिड’का गाँजा भित्रिने नयाँ ट्रेन्ड देखा परेको बुझ्न यी दुई घटना नै काफी छन् । लागूऔषध नियन्त्रण ब्युरोमा रहेर काम गरिसकेका नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हेमन्त मल्ल आफूहरूले काम गर्दा विदेशबाट ‘नयाँ ब्रिड’का गाँजा गैरकानुनी रूपमा नेपाल भित्रिने ट्रेन्ड नरहेको बताउँछन् । भन्छन्, ‘अमेरिका र क्यानडाबाट यस्ता ब्रिडका गाँजा नेपाल भित्रिन थालेको यो एकदमै नयाँ ट्रेन्ड हो, त्यतिबेला यस्तो थिएन ।’ क्यानडा र अमेरिकाका पनि केही राज्यमा गाँजा खुला छ । ती देशहरूबाट स्वास्थ्यका लागि निकै खराब मानिएको स्कंक नामक गाँजाको कारोबार नेपालसम्म हुनुलाई सुरक्षा अधिकारीहरूले गम्भीर चुनौतीका रूपमा लिएका छन् ।
त्यसको कारण नयाँ ब्रिडको यो विदेशी गाँजामा रहेको खराब प्रभाव पनि हो । अधिकारीहरूका अनुसार गाँजाको फूललाई नष्ट हुन नदिएर बनाइएको ‘स्कंक ब्रिड’को यो गाँजामा सामान्य गाँजाको तुलनामा मुख्य नशालु पदार्थ टीएचसी कन्टेन्ट १५ देखि ४० प्रतिशतभन्दा बढी हुन्छ । गाँजामा हुने औषधीय गुण फालिएको हुने प्रहरी अधिकारीहरूको दाबी छ । ‘पार्टी ड्रग’का रूपमा प्रयोग हुने यस प्रकारको गाँजाको प्रभाव अझ लामो समयसम्म हुने र खराब भ्रम सिर्जना गर्ने जानकारहरू बताउँछन् । साइकोयाट्रिक डा. अजय रिसाल धेरै खाएको अवस्थामा भने गाँजाले खराब भ्रम सिर्जना गर्ने बताउँछन् । भन्छन्, ‘धेरै खाएको अवस्थामा भ्रमित गर्ने र खराब किसिमको भ्रम सिर्जना गर्ने हुन्छ ।’
त्यसो भए यस्तो ‘खराब भ्रम सिर्जना गर्ने’ विदेशी गाँजाका प्रयोगकर्ताहरू को हुन् त ? के नेपालमा पनि विदेशबाट आउने नयाँ ब्रिडका गाँजाका प्रयोगकर्ताहरू छन् ? प्रहरीले क्यानडाबाट गाँजा आउन थालेको घटनालगत्तै यसमाथि अनुसन्धान अगाडि बढाएको थियो । डिलाइट होटलका सञ्चालकले अमेरिका र क्यानडाबाट मगाएको विदेशी गाँजा डिस्को र क्लबहरूमा सप्लाई गर्ने, ठमेल र पोखरामा पनि बिक्री गर्ने गरेको भेटिएको थियो । यसबाहेक नेपालमा बेला–बेलामा हुने ट्रान्सपार्टीहरूमा यस्तो गाँजाको प्रयोग हुन्छ । ‘अमेरिका र क्यानडाबाट मगाएको गाँजा नेपालको भन्दा १० गुणा महँगो हुन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘त्यो नेपालका सामान्य मानिसहरूले त किन्नै सक्दैनन् ।’ पूर्व डीआईजी मल्ल यस्तो गाँजा अमेरिका र क्यानडाबाट आएका पर्यटकहरू, त्यही बसेर नेपाल फर्केका केही पैसावाला नेपालीहरूले प्रयोग गरेको हुन सक्ने अनुमान गर्छन् । ‘स्कंक ब्रिडको गाँजा क्यानडाबाट गैरकानुनी रूपमा आइरहेको देखिन्छ, त्यो तस्करी भएर नै आएको हो,’ उनी भन्छन्, ‘यो गाँजा त्यहाँ हुँदा लतमा परेका क्यानेडियन, अमेरिकन पर्यटक वा काम र अध्ययनको सिलसिलामा क्यानडा र अमेरिकामा बसेर फर्किएका नेपाली सौखिन हुन सक्छन् ।’ पहिलो घटनाको कनेक्सन पोखरातिर पनि देखिएकाले ती देशका पर्यटकहरूलाई नै लक्षित गरेर यसको कारोबार नेपालमा पनि हुन थालेको अनुमान पनि एकथरीको छ ।

७० को दशकअघि खुल्ला रहेको गाँजा अहिले नेपालमा प्रतिबन्धित छ । लागूऔषध नियन्त्रण ऐन–२०३३ अनुसार यसलाई कानुनी रूपमै नियन्त्रण गरिँदै आइएको छ । नेपालको हुलाक र भन्सार संरचनाका कमजोर छिद्रहरू प्रयोग गर्दै आइपुग्ने विदेशी हानिकारक गाँजा धेरैजसो भारतमा जाने, त्यसबाहेक केही नेपाल र थोरै गाँजा युरोपियन देशहरूदेखि चीन र हङकङसम्म पनि पुग्ने गरेको प्रहरी अधिकारीहरूको दाबी छ । नेपालमा क्यानडा र अमेरिकाबाट विदेशी घातक गाँजा आयात र प्रयोग हुने छिद्रहरू टाल्नुपर्ने जिम्मेवारी प्रहरीमाथि थपिएको छ । अमेरिका र क्यानडाबाट आउने यस्तो रिफाइन गरिएको गाँजा ओसार–पसार रोक्न आफूहरू सक्रियतापूर्वक लागेको लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा एसपी वीरेन्द्रकुमार बस्याल बताउँछन् । ‘कुरिअर गरेर अमेरिका र क्यानडाबाट गाँजा भित्रिने गरेको पाइएको छ,’ बस्याल भन्छन्, ‘यसलाई निस्तेज गर्न ब्युरो लागिरहेको छ ।’ उनका अनुसार यसरी भित्रिने रिफाइन गरिएको गाँजा धेरैजसो भारत जाने गरेको देखिन्छ ।
विदेशी रिफाइन गरिएको गाँजा ओसार–पसारको ट्रान्जिटका रूपमा नेपाल किन प्रयोग भइरहेको छ त ? प्रवक्ता बस्याल तेस्रो विश्वका देशहरूमा सहज वातावरण हुने भएकाले उनीहरू नेपालजस्तो तेस्रो विश्वका देशलाई ट्रान्जिटका रूपमा रोज्ने गरेको दाबी गर्छन् । अहिले गाँजा नियन्त्रणका लागि कानुन पर्याप्त रहे पनि म्यानपावर र टेक्निकल कुराको अभाव प्रहरीसँग छ । गृह मन्त्रालय र प्रहरीको लागूऔषध अनुसन्धान ब्युरोले ड्रग एनालाइजर मेसिन ल्याउने प्रयास गरिरहेका छन् । ब्युरोका प्रवक्ता बस्याल भन्छन्, ‘म्यानपावर कमी छ, दुरदराजमा हिँडेर जानुपर्छ । मेसिन र टेक्नीकल कुरा पर्याप्त छैन । मेडिकल किट त, छ तर टेस्ट किटको अभाव छ ।’
खुला गर्ने बहसमा छुटाउन नहुने पक्ष
२०७५ मंसिरमा ‘बर्थ डे सेलिब्रेसन’का लागि हिँडेका ४२ जना किशोर/किशोरी गोंगबुको होटलमा गाँजा तान्दै गरेको अवस्थामा पक्राउ परे । ८ देखि १२ कक्षासम्म अध्ययन गरिरहेका १३ देखि १८ वर्षका ती किशोरी/किशोरीमध्ये ३२ जनाबाट प्रहरीले गाँजा बरामद गरेको थियो । होटलको कोठा बुक गरेर गाँजा तानिरहेको अवस्थामा उनीहरू प्रहरी फन्दामा परेका थिए । यो त एक उदाहरण मात्र हो । प्रहरीले कानुनअनुसार प्रतिबन्धित गाँजा नियन्त्रण गर्ने क्रममा यस्ता कैयौं घटना सतहमा आएका छन् । प्रहरीले सन् २०१७ देखि २०१९ सम्ममात्रै १८ हजार २ सय ३५ किलो गाँजा बरामद गरेको छ । यो अवधिमा दर्जनौं संख्यामा गाँजा कारोबारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ, जसमा गाँजा कारोबारमा संलग्न केही विदेशीहरूलाई पनि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

अर्को रोचक तथ्यले गाँजाको प्रयोग सवारी चलाउनेहरूले गर्ने गरेको देखाएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीले ०७५ चैत १४ गते पोखरा महानगरपालिका वडा नं. २७ डाँडाको नाकस्थित पृथ्वी राजमार्ग १९ वटा सवारीका चालकहरूलाई चेकचाँजपछि पिसाब परीक्षण गर्दा ५ जनाले गाँजा सेवन गरेको पाइयो, जुन कुल परीक्षणमा २६ दशमलव ३१ प्रतिशत हुन आउँछ । जिल्ला ट्राफिक कास्कीका सूचना अधिकारी जितजंग कार्की लागूऔषधले सडक दुर्घटनाको जोखिम बढाउने बताउँछन् । ‘यो त एकदमै संवेदनशील कुरा हो,’ उनी भन्छन् ।
संसद्मा गाँजा खुलाको बहस गर्दा यस्ता घटनाहरूलाई पनि ध्यान दिनुपर्नेमा सरोकारवालाहरूको जोड छ, जसले गाँजा खुला गर्दा अपनाउनुपर्ने सतर्कताको आवश्यकता टड्कारो देखाउँछ । पूर्वीय समाजको आयुर्वेद चिकित्सामा औषधिका रूपमा प्रयोग हुने गाँजामा विभिन्न अनुसन्धानबाट पनि औषधीय गुणहरू रहेको देखिएको छ । यही औषधीय गुणमा जोड दिँदै नेपालमा पनि गाँजा खुला गर्नुपर्ने बहस चलिरहेको छ । मानसिक समस्या भएकालाई लठ्याउने र शारीरिक दुखाइ भएकाले ‘पेनकिलर’का रूपमा पनि गाँजाको प्रयोग गर्ने गरेको पाइन्छ ।
गाँजा खुला गरिएका उरुग्वे, नेदरल्यान्ड, अमेरिका, क्यानडा, चिली, मेक्सिको, स्पेनजस्ता देशहरूको उदाहरण दिँदै नेपालमा पनि खुला गरिनुपर्ने बहस चलिरहेको छ । प्रतिनिधिसभाका सांसद विरोध खतिवडाले गाँजा खुला गर्नुपर्ने बहस संसद्मै छेडेका छन् भने प्रदेशसभा सांसद तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित त लामो समयदेखि नेपालमा गाँजा खुला गर्नुपर्ने कुराको पैरवी गरिरहेका छन् ।
एक प्रहरी अधिकारी भने त्यत्तिकै गाँजा खुला गर्न नहुने जोड दिन्छन् । अहिलेकै अवस्थामा गाँजा खुला गरिए यसको मिसयुज बढी हुने चिन्ता उनको छ । नाम उल्लेख नगर्ने सर्तमा साप्ताहिकसँगको कुराकानीमा एक उच्च प्रहरी अधिकारीले प्रश्न गरे, ‘१६ वर्षका बच्चालाई गाँजा दिएर भोलेनाथको प्रसाद भन्नु कसरी उचित हुन सक्छ ? पहिले खेतबारीमा काम गरेर शरीर दुख्ने समस्या भएका बूढापाकाले सुत्ने बेलामा खान्थे । अहिले जमाना त्यस्तो छैन, यसको ‘मिसयुज’ले निम्त्याउने खतरातर्फ ध्यान दिने कि नदिने ?’ कलिला किशोर–किशोरी र चालकहरूले प्रतिबन्धित अवस्थामै जुन हिसाबले गाँजाको प्रयोग गरेको देखिन्छ, त्यसले अझै यसमा सचेतनाको आवश्यकता बढाएको छ ।
के हो विदेशबाट आउने स्कंक ?
नेपाली गाँजा पात र फूलहरू मिसाएर बनाइन्छ । यसमा कम प्रभाव हुन्छ । तर, यो स्कंक ब्रिडको गाँजा फूलहरू नष्ट हुन नदिएर बनाइएको हुन्छ । फूल नष्ट हुन नदिएर झुप्पा बनाइन्छ, यो फूलहरूको समूह हो । नेपाल प्रहरीका पूर्व डिआईजी मल्लका अनुसार यसमा टीएचसी कन्टेन्ट १५ देखि ४० प्रतिशतभन्दा बढी हुन्छ । गाँजामा हुने औषधीय गुण फालिएको हुन्छ । यसले जे कल्पना गरिन्छ, त्यही देखाउँछ ।

यो गाँजा अमेरिका र क्यानडातिरबाट अरू देशका गइरहेको छ । अमेरिकाभन्दा पनि क्यानडाबाट बढी युरोप र मध्यपूर्वका देशहरूमा यसको सप्लाई भएको देखिन्छ । यो गाँजाको नयाँ ब्रिड हो । यसलाई युवाहरूले ‘पार्टी ड्रग’का रूपमा प्रयोग गर्ने गरेका छन् । नेपाली गाँजामा कम भ्रम दिने र निद्रा लगाउने विशेषता हुन्छ, त्यसको प्रभाव तल्लो लेभलमा कन्ट्रोल गर्न सकिने खालको हुन्छ । क्यानडातिरबाट आउने गाँजाको प्रयोग गर्नेहरूमा खराब स्तरको भ्रम सिर्जना हुन्छ । यसको प्रभाव दिमागमा लामो समयसम्म रहन्छ ।
४ वर्षमा १० लाख बोट नष्ट
विदेशी गाँजाको नेपालमा ओसार–पसार हुन थालेको नयाँ ट्रेन्ड एकातर्फ देखिँदैछ । अर्कातर्फ सन् ७० को दशकमा विदेशी दबाबमा प्रतिबन्ध लगाइएको गाँजाको अहिले पनि नेपालका धेरै जिल्लामा खेती हुने गरेको छ । प्रहरीले बर्सेनि गाँजाखेती गर्ने किसानहरूको बारीमै पुगेर गाँजा फँडानी गर्छ, तर पनि धेरै जिल्लामा यसको व्यावसायिक खेती रोकिएको छैन । नेपालमा गाँजाको बर्सेनि ठूलो कारोबार हुने गरेको छ । तर, यसको वास्तविक आँकडा कसैसँग छैन । अमेरिका निवासी खाद्य वैज्ञानिक नारायण घिमिरेले एक लेखमा प्रस्तुत गरेको अनुमानित आँकडाअनुसार खुद्रा गाँजाको कारोबार झन्डै २० करोड डलरको हाराहारीमा छ । प्रहरीका अनुसार ब्ल्याक मार्केटमा कारोबारीहरूले नेपाली गाँजा प्रतिकिलो ३५ हजार रुपैयाँसम्ममा किनबेच गर्ने गरेको पाइएको छ । विदेशबाट आउने गाँजाको मूल्य भने प्रतिकेजी २ लाखसम्म पर्ने गरेको बताइन्छ ।

लागूऔषध नियन्त्रण ब्युरोको पछिल्लो चार वर्षको तथ्यांकअुनसार प्रहरीले १० लाख ७१ हजार ९ सयभन्दा बढी गाँजाको बोट नष्ट गरेको छ । गाँजा नियन्त्रणका क्रममा कहिले खेती गर्नेहरूसँग त कहिले गाँजा तस्करसँग प्रहरीको झडप र गोली हानाहान भएको पनि पाइन्छ । गत साउनमा मकवानपुरको मनहरि गाउँपालिकामा गाँजा तस्कर र प्रहरीबीच झडप भएको थियो, त्यही क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । ब्युरोले पछिल्ला दुई आर्थिक वर्षमा ३४ जिल्लामा गाँजाखेती फँडानी गरिएको उल्लेख छ, जसमा कास्की, तनहुँ, बाग्लुङ, गोरखा, अर्घाखाँची, बैतडी, नुवाकोट, दोलखा, पाल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, लमजुङ, स्याङ्जा, म्याग्दी, पर्वत, मनाङ, सप्तरी, सिराहा, सिन्धुली, महोत्तरी, मकवानपुर, रौतहत, बारा, पर्सा, धनुषा, सर्लाही, सुर्खेत, जाजरकोट, दाङ, काठमाडौं, नवलपुर, डोटी, हुम्ला र रोल्पा जिल्ला रहेका छन् ।
नेपालमा गरिएको गाँजाखेतीको बजार भने भारत नै हो । खुला सीमाको फाइदा उठाउँदै गाँजाखेती गर्नेहरू यसलाई भारतमा विभिन्न ठाउँमा ओसार–पसार गर्ने गर्छन् । मुख्य गरी भारतको नयाँदिल्ली, मुम्बई र कोलकातामा नेपालबाट गाँजा तस्करी हुन्छ । नेपाली गाँजाको दोस्रो बजार चीनलाई मानिन्छ । यसबाहेक सिंगापुर, हङकङ, मलेसिया, जापान, टर्की, क्यानडा, युरोप र ग्रिसमा पनि नेपाली गाँजा पुग्ने गरेको प्रहरी अधिकारी बताउँछन् ।
कुन वर्ष कति बोट फँडानी
आर्थिक वर्ष बोट
२०७३/०७४ १७,७६२
२०७४/०७५ ९,४६४
२०७५/०७६ १,९८,४९२
२०७६/०७८ ८,४६,१९८
जम्मा १०,७१,९१६
स्रोत : लागूऔषध नियन्त्रण ब्युरो