You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 2
कला

पुरानो प्रविधिमा नयाँ कला

मानिआएको शान्तिको प्रतीक– जून । त्यसलाई कलाकार सुजिता महर्जन बुद्धसँग जोड्छिन् । त्यसलाई उनले चित्रमा उतारेकी छिन् र नाम दिएकी छिन्– जूनको एक टुक्रा । यसलाई अर्थ दिन उनले पीपलका पात, च्याउ, पञ्च रङ र बुद्धका विभिन्न मुद्रा चित्रमा उतारेकी छन् ।
माइतीघरस्थित सिद्धार्थ आर्ट ग्यालरीमा गत आइतबारबाट सुरु भएको ‘प्रिन्ट मेकिङ’ कला प्रदर्शनीमा यो चित्र राखिएको छ । ‘बुद्ध उज्यालो अर्थात् शान्तिका प्रतीक हुन्,’ सुजिता भन्छिन्, ‘उनलाई जूनसँग दाँजेर शान्तिको सन्देश दिने मेरो प्रयास हो ।’ उनले ७ दिनमा यो प्रिन्ट तयार गरेकी हुन् ।
प्रदर्शनीमा उनका जस्तै डेढ सयभन्दा बढी चित्र छन् । जसमा प्रिन्ट मेकिङ कलाका तीन विधि प्रयोग गरिएको छ– इचिङ, उडकट र लिथोग्राफी । सुजिताका इचिङ विधिद्वारा तयार पारिएका तीनवटा कलाकृति प्रदर्शनीमा छन् । उनी प्रिन्ट मेकिङअन्तर्गत इचिङ विधि प्रयोग गर्छिन् । ‘इचिङ प्रविधि प्रिन्ट मेकिङ कलाको एक विधि हो, जसको प्रचार नेपालमा सुरु भएको केही वर्षमात्रै भएको छ’, उनले सुनाइन् ‘यो विधिमा हामी जिंक प्लेटमा पेन्टिङ गर्छौं र त्यसलाई प्रेसबाट निकाल्छौं ।’
फाइन आर्टमा मास्टर्स गरिसकेकी सुजिता इचिङ विधिका पेन्टिङलाई व्यावसायिक ढंगले अगाडि बढाउने सोचमा समेत छिन् । फाइन आर्टस्मा मास्टर्स गरिरहेकी सोनी राईको प्रदर्शनीमा दुइटा कलाकृति राखिएको छ । इचिङ प्रविधिमार्फत उनले विश्वव्यापीकरणले विस्थापित गरेको स्थानीयताबारे बिम्बात्मक अभिव्यक्ति दिएकी छिन् । ‘लोकल रक्सीलाई अन्तर्राष्ट्रिय मार्काका रक्सीले कसरी विस्थापित गरे ?’ उनको पेन्टिङले प्रस्ट पार्छ ।
उडकट विधिद्वारा तयार पारिएको आफ्ना प्रेन्टिङ प्रदर्शनमा राखेकी छन् कलाकार सम्झना राजभण्डारीले । यसमा काठमा डिजाइन खोपेर ब्लक बनाइन्छ । ब्लकमा रङ लगाएर प्रिन्ट गरिन्छ । एउटा ब्लक बनाइसकेपछि यसका धेरै एडिसन निकाल्न सकिने सम्झना बताउँछिन् । उनी भन्छिन्, ‘उडकटको छुट्टै खाले छापखाना हुन्छ । जुन ललितकला क्याम्पस र सिर्जना कलेज अफ फाइन आर्टमा छ । यद्यपि, मेसिनबिना पनि उडकट विधिद्वारा काम गर्न सकिन्छ ।’
फाइन आर्टस्मै मास्टर्स गरिरहेका विद्यामान तामाङचाहिँ लिथोग्राफी विधिमा काम गर्छन् । उनका चित्रमा गाउँ घरको लालपुर्जामाथि घरपालुवा जनावर गाई, बाख्रा छन् । गाउँमा हराइरहेको मौलिकता र साँघुरिँदै गएको जमिनलाई उनले चित्रमा उतारेका छन् । उनको कला हेर्ने जो कोहीलाई गाउँले परिवेश र बाल्यस्मृतितर्फ तान्छ । हेर्दा रोमाञ्चक बनाउने यो कला तयार गर्न भने कठिन रहेको उनी बताउँछन् । ‘विशेष खालको ढुंगामा ड्रइङ गर्ने विधि लिथोग्राफी हो,’ उनी प्रस्ट्याउँछन्, ‘सुरुमा ढुंगालाई घोटेर चिप्लो बनाएपछि ग्लासमार्करले ड्रइङ गर्ने उनी बताउँछन् ।’
उनका अनुसार यस्तो खालको ढुंगा एकदमै महँगो छ, सहजै उपलब्ध पनि हुँदैन । त्यसो त उनी इचिङ विधिमा पनि काम गर्छन् । तीन दिनको वर्कसपमा बनाएको मौरीको पेन्टिङबारे उनी भन्छन्, ‘बाल्यकालमा मौरीहरूको आवाज सुनिन्थ्यो, अहिले पाइन्न । त्यसैले मैले यसैको पेन्टिङ बनाएँ,’ विद्यामान भन्छन् ।
प्रदर्शनी वैशाख १ गतेसम्म चल्नेछ । कलाकार सम्झना राजभण्डारी भन्छिन्, ‘पछिल्ला तीन वर्षदेखि प्रिन्ट मेकिङ कलाका प्रदर्शनी हरेक वर्ष हुने गरेको छ ।’

 

‘इचिङ प्रविधि प्रिन्ट मेकिङ कलाको एक विधि हो, जसको प्रचार नेपालमा सुरु भएको केही वर्षमात्रै भएको छ’
सुजिता महर्जन, कलाकार


नेपालमा प्रिन्ट मेकिङ

प्रिन्ट मेकिङ १५ औं शताब्दीतिर चाइनाबाट विकास भएको विधि हो । तर, नेपालमा केही वर्षअघि मात्रै यो प्रचारमा आएको हो । नेपालमा सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयको कलाकार उमाशंकर शाहको पहलमा प्रिन्ट मेकिङको पढाइ हुन थालेपछि यसको लोकप्रियता बढ्दै गयो ।
कलाकार तथा प्राध्यापक शाहका अनुसार एकेडेमिक पाठ्यक्रम सुरु हुनुअघि यसका कलाकार नेपालमा २/३ जनामात्र थिए । ‘हामी विश्वविद्यालय पुगेपछि यो पनि लागू गरौं भनेर सुरुवात गर्‍यौं । त्रिभुवन विश्वविद्यालयमा लागू भएपछि अन्य प्राइभेट कलेजमा पनि सुरु भयो,’ शाहले जानकारी दिए ।
प्रिन्ट मेकिङका पछिल्ला कलाकार यही विद्यार्थी पुस्ता हो । ‘अहिले यही विधामार्फत पेन्टिङ गरेर जीवन धान्ने कलाकार पनि छन् । यसर्थ नेपालमा व्यावसायिक प्रिन्ट मेकिङका काम सुरु भइसकेका छन्,’ उनी भन्छन् । कलाकार शाहकै नेतृत्वमा ४ वर्षअघि प्रिन्ट मेकिङ नेपाल संस्थाको स्थापना भयो । प्रिन्ट मेकरले बाहिर अवसर पाउन कठिन देखिएपछि अवसर प्रदान गर्ने उद्देश्यले उक्त संस्थाको स्थापना गरेको उनी बताउँछन् ।
प्रिन्ट मेकिङ नेपालमा मास्टर्स गरेका प्रिन्ट मेकर्सहरू आवद्ध हुन्छन् । ‘मास्टर्स गरिसकेपछि सदस्यता लिन पाउँछौं । हरेक वर्ष प्रिन्ट मेकिङ नेपालको प्रदर्शन र वर्कसप हुन्छ ।

Page 3
श्रद्धाञ्जली

डीपी सरसँग अन्तरंग

स्वयंलाई लेखक अस्वीकृत गर्ने भण्डारीलाई पाठकको कहिल्यै खडेरी परेन
- शेखर खरेल

कात्तिक १, १९९२ – चैत्र १, २०७६ 

प्राध्यापक दुर्गाप्रसाद (डीपी) भण्डारीका दर्जनौं निबन्धमा आषाढको प्रथम दिवस (दिन) को व्याख्या छ । महाकवि कालिदासको ‘मेघदूत’मा यक्षले मेघलाई आफ्ना प्रेमिकाका निम्ति सन्देशवाहक बनिदिन अनुनय गरेको प्रसंगलाई डीपी सरले एक वेचैन प्रेमीको मनोदशाका रूपमा मिहिन व्याख्या गर्नुभएको छ, ती निबन्धमा । तर मेरा निम्ति बेचैनीको महिना असार नभएर चैत हो, जुन डीपी सरसँग नगरकोटमा बिताएको एक अप्रतिम ‘नाइट स्टे’सँग सम्बन्धित छ । विस्मृति रमणको पूर्वसन्ध्यामा डीपी सरसँगको हामी चार भाइ, लेखक खगेन्द्र संग्रौला, कवि हेमन्त विवश, नगरकोट फोर्ट रेसोर्टका अनिल प्रधान र मैले सुरापानसहितको एक अन्तरङ्ग सत्र व्यतीत गरेका थियौं । सायद अन्तरङ्ग डीपी सरका निम्ति पनि एक आनन्दास्पर्शी शब्दावली हो । यसै ‘साप्ताहिक’मा उहाँले ‘डीपी भण्डारीसँग अन्तरङ्ग’ शीर्षकमा लामो समयसम्म स्तम्भ लेख्नुभयो । हात थर्थराउने रोगले लेखन कार्य कष्टकर बन्दै र वार्धक्यले शनैशनै गाँज्दै लगेपछि उहाँ स्तम्भ लेखनबाट ओझेलिनुभयो ।
संवत् २०६७ चैतको नगरकोटको ‘नाइट स्टे’मा उहाँमा वार्धक्य सुरु हुन थालेको हामीले अनुभूत गर्‍यौं । त्यसको दुई वर्षपछि उहाँकी पत्नी श्री भण्डारीको अप्रत्याशित निधनले डीपी सरमाथि शोकसँगै एकान्तिकता निम्त्यायो । पाशुपत क्षेत्रको मृगस्थलीको प्रातः भ्रमणमा निस्कने उहाँ त्यसपछि विस्मृति रमणमा पुग्नुभयो ।
पछिल्लो आधा दशकदेखि डीपी सर स्मृतिशून्य हुनुहुन्थ्यो । उहाँ ‘क्लिनिकल्ली’ मात्र हामीबीच हुनुहुन्थ्यो । थर्थराएका हातसँगै वाचाल ओठ पनि ‘लकडाउन’ भइसकेका थिए । त्यस्तो अवस्थामा उहाँलाई भेट्नु पनि कष्टकर हुन्थ्यो । स्वयंका निम्ति अजनवी डीपी सरका आँखा निर्निमेष देखिन्थे, कुनै शून्यमा टोलाइरहेजस्तै । अन्ततः गत चैत १ गतेका दिन उहाँ महाशून्यमा एकाकार हुनुभयो ।
सुदूरपश्चिम डोटीको निरौली गाउँमा कात्तिक १, १९९२ मा जन्मनुभएका डीपी भण्डारीको अक्षरारम्भ गाउँबाटै भएको थियो । १२ वर्षको उमेरमा गुरुकुलीय पद्धतिमा अध्ययन निम्ति भारतको हरिद्वार पुग्नुभएका उहाँले भारतकै जवलपुर विश्वविद्यालयबाट अंग्रेजी आइरिश कवि विलियम वट्लर (डब्लूबी) यिट्सको काव्यिकताउपर विद्यावारिधि गर्नुभयो । तीन दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी प्राध्यापन गर्नुभएका उहाँ नेपाल प्राध्यापक संघको सभापति तथा नेपाल एसियाली अध्ययन केन्द्र (सिनास) को निर्देशक पनि बन्नुभयो । प्राध्यापन, लेखन तथा सम्भाषणमा उत्तिकै पारंगत एवं सिद्धहस्त भण्डारी सर आजन्म प्राज्ञिक कर्म एवं उन्नयनको सोपानमा रमाउनुभयो । संस्कृत, हिन्दी र अंग्रेजी वाङ्मय, दर्शन र साहित्यका अध्ययनका कारण उहाँ पूर्वीय दर्शनसँगै पश्चिमेली साहित्यको धुरन्धर ज्ञाता अनि व्याख्याता हुनुहुन्थ्यो । कालिदास हुन् वा शेक्सपियर, भर्तृहरि हुन् वा मिल्टन, टेगौर हुन् वा इलियट उहाँ व्याख्या सुनेर मानिस कायल बन्थे ।
व्यक्तिको वैयक्तिक स्वतन्त्रताका पैरवीकर्ता एवं समाजको बृहत्तर पाखण्डपूर्ण चरित्रको आलोचक डीपी सर प्राचीन ग्रिसका शुकरात, एरिस्टोटलझैं विद्रोही हुनुहुन्थ्यो । चाहे पञ्चायत होस् वा प्रजातन्त्र उहाँ सधै नेतृत्वको आलोचक रहनुभयो । त्यसैले उहाँसँग सैद्धान्तिक वा चरित्रगत रूपमा बेमेल रहने प्रजातन्त्रवादी हुन् वा प्रगतीशील, डीपी सरको आभासामु नतमस्तक हुन्थे ।
संवत् २०५७ मा डीपी सरको पहिलो निबन्धाकृति ‘मृगस्थली’को लोकार्पण निम्ति तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आयोजक गणेशमान सिंह प्रतिष्ठानले मुख्य अतिथिनिम्ति आमन्त्रण गरेको थियो । सन्त नेता कृष्णप्रसाद (किसुनजी) भट्टराईलाई वैधानिक अपदस्थ गरेर प्रमुख कार्यकारी बनेका कोइरालाले किसुनजीकै अनन्य डीपी भण्डारीको पुस्तक विमोचनको आमन्त्रण कदापि नस्विकार्ने धेरैको अनुमान थियो । तर, कोइराला मुख्य अतिथि बन्न सहर्ष तयार भए । विमोचनमा आउनुको राज कोइरालाले यसरी पनि खोले, ‘म गएको तीन महिनादेखि उद्घाटन, विमोचनजस्ता कार्यक्रम छल्दै आइरहेको थिएँ । तर, जब प्राध्यापक भण्डारीको कार्यक्रमको मुख्य अतिथि बनिदिने अनुरोध आयो, म सहर्ष तयार भएँ, किनकि भण्डारी सरले नर्क जाऊँ भने पनि जाने मान्छे हुँ म ।’
डीपी भण्डारीले आफूलाई कहिल्यै लेखक वा साहित्यकार दाबी गर्नु भएन । आत्मघोषणाले मानव उच्चताको संकेत नगर्ने, बरु तुच्छता अनुमोदन हुने उहाँको तर्क थियो । त्यसैले उहाँले आफूलाई गोठालो भन्न रुचाउनुभयो । आफ्ना लेख र प्रियजनसँगको कुराकानीमा उहाँ बाल्यावस्थाको गोठालो जीवन सर्वाधिक उल्लासपूर्ण कालखण्ड उल्लेख गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘यदि भगवान्ले कुनै वरदान माग भनेमा अर्को जन्ममा झन् ठूलो गोठालो हुन पाऊँ भन्नेछु ।’
तर स्वयंलाई लेखक अस्वीकृत गर्ने डीपी भण्डारीलाई पाठकको कहिल्यै खडेरी परेन । सबै लिङ्ग, उमेर र विचारका मानिसलाई उहाँका लेखनले गुरुत्वाकर्षित गरिरहे । कतिसम्म भने, कम्युनिस्टप्रति कठोर भण्डारी सरका कतिपय प्रशंसक प्रगतिशील भनिने वाम विचारधाराका हुन्थे । तथाकथित बौद्धिकताका नाममा उहाँका लेख कहिल्यै बुद्धिविलासका पुलिन्दा रहेनन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे डीपी भण्डारीको निबन्धमा हृदय पक्षकोरसिकतासँग अन्तर्दृष्टिको सूक्ष्मता मुछिएको पाउँछन् । राष्ट्रकवि घिमिरे ती निबन्धमा हृदयको मस्तीसँगै अन्तर्दृष्टिका सूक्ति पनि भेट्छन् ।
दर्शन अनि सघन विम्बात्मकता भण्डारी सरका लेखकीय विशेषता हुन् भने निर्बोधता अनि निस्पृहता उहाँका चारित्रिक विशेषता । शक्ति र सत्ताबाट विकर्षित उहाँ सत्य र निश्छलताबाट अभिभूत हुनुहुन्थ्यो, लेखन र सम्बन्ध दुवैमा । उहाँ पण्डित, पादरी र मुल्लाहका पाखण्डलाई उछित्तो काट्नुहुन्थ्यो भने भ्रष्ट नेता र कामचोर कर्मचारीलाई सिर्कनु हान्नुहुन्थ्यो ।
‘नीरो बाँसुरी बजाइरहेछ’ संग्रहको ‘बगरेको अण्डकोष र हाम्रो प्रजातन्त्र’ निबन्धमा उहाँ तथाकथित प्रजातन्त्रवादीको मुखुण्डो उतार्नुहुन्छ । प्रजातन्त्रको नाममा लुटतन्त्र मच्चाउने लुब्ध र उपयोगितावादी नेतृत्वप्रति हदै कठोर बन्नुहुन्छ, ‘बगरेले एक पौरुषपूर्ण बोकालाई नपुङ्सक बनाएको खसीको अण्डकोष देखाएर व्यापार गर्छ । सत्य एउटा हुन्छ, उसको उपादेयता विपरीत हुन्छ । त्यस्तै हाम्रो प्रजातन्त्र एक विशेष लक्ष्य लिएर आएको हुन्छ, तर व्यवहार त्यसको एकदमै उल्टो हुन्छ । बगरेको भन्दा प्रजातान्त्रिक व्यवस्थामाथि ‘आस्था’ राख्नेहरूका पाखण्ड, विरोधाभास र ठगी धेरै बढी खतरनाक हुन्छ ।’
यसैगरी ‘रोटी र फूल’ निबन्धाकृतिको ‘यो संसार अजनबीहरूको रैनबसेरा हो’मा डीपी सर पृथ्वीवासीहरूका द्वैध चरित्रबाट वाक्कदिक्क देखिनुहुन्छ । मानवजातिका छुद्र व्यवहारदेखि विस्मित बन्दै उहाँ लेख्नुहुन्छ, ‘पृथ्वीवासी ठगी, प्रपञ्च, प्रतारण, पाखण्डता, विविध किसिमका नारकीय चिन्तन र कर्ममा प्रवीण हुँदै गइरहेका छन् । कुडा करकट, भूस लेखेर आफैंलाई ठूलो साहित्यकार र विद्वान् घोषित गर्दै गइरहेका हुन्छन् । कर्मचारी हुँदा लटरम्म भ्रष्टाचार गरिसकेपछि आफैंलाई साहित्यकार र लेखक हुँ भन्ने भूसहरूको बथान यो ग्रहभित्र नगन्य रूपले सानो कुना, नेपालमा पनि दृष्टिगोचर गर्न लायक छ ।’
औपचारिक कार्यक्रम र सम्भाषणमा हुन्, वा अनौपचारिक भेटघाट वा सुरापान सत्र, उहाँका व्यंग्य, वक्रोक्ति र विनोदप्रियता आल्हादकारी हुन्थ्यो । छाडा सुनिने ठेट बोली र सम्बोधनले सुनिजान्नेलाई काउकुती लगाउँथ्यो । खै किन हो, उहाँका मुखबाट निस्कने सभ्य समाजमा वर्जित शब्दावली कहिल्यै असभ्य सुनिएनन् । सबैप्रतिको समभाव र हृदयको निश्छलताका कारण डीपी सरका बोली कहिल्यै ‘एब्युजिभ’ सुनिएनन् । रमाइलो त के भने, जो ठाडा र छाडा पदावलीद्वारा सम्बोधित हुन्थे, ती क्रोधित नभएर प्रसन्न रहन्थे । लेखक खगेन्द्र संग्रौला र डीपी सरका केही अन्तरङ्ग र सुरापाना सत्रका साक्षी म स्वयं हुँ । डीपी सर कम्युनिष्टप्रति कठोर हुनुहुन्थ्यो, तैपनि देब्रेढल्कुवा खगेन्द्र दाइ सदा उहाँप्रति प्रेमिल रहनुभयो । उहाँको ‘चाबेलको चाउरे’ को सम्बोधनबाट खगेन्द्रदाइ क्रोधित नभएर पुलकित बन्नुहुन्थ्यो ।
अरूउपर व्यंग्य गर्ने डीपी सर आफैंप्रति उत्तिकै व्यंग्य गर्नुहुन्थ्यो । उहाँ आफैंमाथि त्यसैगरी व्यंग्य गर्नुहुन्थ्यो जसरी भारतका प्रख्यात् लेखक खुशवन्त सिंह आफू र सरदारजीहरू उपर व्यग्य गर्ने गर्थे । खुशवन्तझै उहाँ पनि नग्नता, यौन र नारीहरूउपर टिप्पणी गरिरहनुहुन्थ्यो । त्यसैले उहाँका निबन्धहरूमा ‘सेक्स अपिल’ पाइन्छ । उहाँ आफूलाई गोठालो, लाटो र मूर्खजस्ता उपमाहरूले सम्बोधन गर्न रुचाउनुहुन्थ्यो, जसरी खुशवन्त उनलाई कसैले छिल्याहा बूढो र जोकर भनेर सम्बोधन गरेमा तिनलाई ‘कम्लिमेन्ट’का रूपमा लिने गर्थे ।
स्वयं विस्मृतिमा रमण गर्नुभए पनि डीपी सरले विरासतमा थुप्रै स्मृति छाडेर जानुभएको छ । ‘मृगस्थली’ (२०५७), ‘नीरो बाँसुरी बजाइरहेछ’ (२०६०), ‘रोटी र फूल’ (२०६३), ‘त्यो धरती (२०६३) त्यो आकाश’(२०६८) उहाँका प्रकाशित निबन्धाकृति हुन् । रेडियो सगरमाथामा लामो समय दार्शनिक प्रवचनको कार्यक्रम सञ्चालन गर्नुभएका उहाँ सम्भाषणका रेकर्ड पक्कै पनि अर्काइभमा हुनुपर्छ । त्यसैगरी उहाँका अप्रकाशित रचना परिवारसँग सुरक्षित हुनुपर्छ । कतिपय कुरा, खासगरी प्रेम सम्बन्धका डायरी उहाँ जीवित रहँदासम्म छापियोस् भन्ने चाहनुहुन्नथ्यो, जुन उपयुक्त समयमा प्रकाशित हुन सक्छ ।
नेपाली प्राज्ञिक एवं साहित्याकाशका एक प्राञ्जल नक्षत्र आदरणीय डीपी सरप्रति हार्दिक श्रद्धाञ्जली !

Page 4
खानपान

गर्मीयाम, शीतल खाना

पर्याप्त पानी सेवन गर्नु र मौसमी फलफूलमा जोड दिनु आवश्यक
- सुजाता मुखिया

गर्मी बढ्दैछ । घामको रापबाट बच्न बजारमा विद्युतीय उपकरण पनि उपलब्ध छन्– पंखा, कुलर, एसी । यी उपकरणको माध्यमबाट घर वा कोठालाई तापक्रम अनुकूलित बनाउन सकिन्छ । तर, यो विकल्प जोकोहीलाई जहीँतहीँ सम्भव हुँदैन । यो प्राकृतिक उपाय पनि होइन । घरबाहिर हिँड्दा के गर्ने ? सजिलो उपाय हो, छाता । चर्को घामबाट बच्न छाताले केही राहत दिन्छ । छाता ओढेर हिँडेपछि घामको हानिकारक विकिरणबाट त बच्न सकिन्छ नै, शीतल पनि अनुभव हुन्छ । तर, यी सबै बाह्य विधि हुन् ।
गर्मीमा शरीरलाई भित्रैबाट शीतलता प्रदान गर्ने उपाय के होला त ? यसका लागि पर्याप्त पानी सेवनसँगै मौसमी फलफूल उपयोगी हुन सक्छ । जस्तो कि, खरबुजा, मुला, काँक्रा आदि । त्यसबाहेक पनि यस्ता खानेकुरा छन्, जसले शरीरलाई भित्रैबाट शीतल बनाउँछ ।
‘मौसम परिवर्तनसँगै विभिन्न रोगका कीटाणु सक्रिय हुन थाल्छ,’ पोषण विज्ञ मीरा शाह भन्छिन्, ‘मौसम परिवर्तन हुँदा शरीरको तापक्रममा उतारचढाव हुन सक्छ, जसले गर्दा संक्रमण, रोग, झाडापखाला, ज्वरो, रुघाखोकीले सताउँछ ।’ उनी शरीरको तापक्रम सन्तुलित राख्न शरीरलाई शीतल दिने खाना खान सुझाउँछिन् । यसले रोगसँग लड्ने क्षमता पनि वृद्धि गरोस् ।
पोषणविद् सुनैना देवजु गर्मीमा सुपाच्य फलफूल एवं खानेकुरा खान सल्लाह दिन्छिन् । उनी भन्छिन्, ‘गर्मी मौसममा शारीरिक असन्तुलनजस्तै सुजन, जलन र संक्रमणका साथै क्रोध, आक्रोशित, उत्तेजितजस्ता मानसिक समस्या पनि उत्पन्न हुन्छ ।’ स्वस्थ भोजन र सही आहारको छनौट नै अत्यधिक गर्मीबाट बच्न र शरीरको तापक्रम सन्तुलित गर्ने सर्वोत्तम तरिका भएको बताउँछिन् ।
गर्मीमा शरीरमा पानीको मात्रा अपुग भएर डिहाइड्रेसन हुनेदेखि विभिन्न रोगले आक्रमण गर्ने डर पनि उत्तिकै रहन्छ । अर्कातिर गर्मीकै कारण खानेकुरा चाँडै सड्ने हुन्छ, जसले गर्दा खानामा भएको पौष्टिक तत्त्व नष्ट हुन्छ । हाम्रो शरीरमा चाहिने पौष्टिक तत्त्वको कमी भएर रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ ।
हाम्रो शरीरलाई खानाभन्दा बढी पानीको आवश्यकता हुन्छ । हाम्रो शरीरको एकतिहाइ हिस्सा पानीले ओगटेको छ । शरीरमा पानीको मात्रा कमी भएमा त्यसको प्रभाव सीधै हाम्रा अंगहरूमा पर्न जान्छ । हाम्रो शरीरका अंगहरूको कार्यसम्पादनका लागि पानीको आवश्यकता पर्छ । शरीरमा चाहिने ८० प्रतिशत पानी पिएर पूर्ति हुन्छ भने बाँकी २० प्रतिशत ठोस खानेकुराबाट प्राप्त हुन्छ । गर्मीमा पसिना धेरै बग्ने हुँदा शरीरमा पानीको मात्रा कमी हुन जान्छ ।

घरमै बनाएको सर्वत
उखरमाउलो गर्मी भएका बेला हामी फ्रिजमा राखिएको कोल्ड ड्रिंक्स, जुस खान्छौं, तर यस्ता बजारमा पाइने कृत्रिम पेय पदार्थले हाम्रो स्वास्थ्यलाई फाइदा गर्दैन, शरीरमा पानीको मात्रा झन् कम गराउँछ । घरमै बनाएको सर्वतले हाम्रो शरीरमा शीतलता दिँदैन, स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । सर्वत बनाउन त्यति गाह्रो पनि छैन र समय पनि धेरै खर्चिनु पर्दैन । घरमै उपलब्ध भएका सामग्रीबाट बनाउन सकिन्छ । पुदिना प्रायः सबैको करेसाबारीमा हुन्छ । पुदिनाले शरीरमा शीतलता प्रदान गर्छ । यसको अचार बनाएर पनि खान सकिन्छ । पुदिना पानीमा सखर वा मह मिसाएर बनाउन सकिन्छ । कागतीबाट बनाउन सकिन्छ । बजारमा जलजिरा सजिलै उपलब्ध हुन्छ । जिराको स्वादमा पाइने यो सर्वतले पेटसँग जोडिएको हरेक समस्याबाट बचाउँछ । त्यस्तै मौसमी फलफूलबाट पनि सर्वत बनाउन सकिन्छ । सर्वत बनाएर फ्रिजमा राख्नुको सट्टा माटो वा तामाको भाँडामा राखेर पिउन सकिन्छ ।

सातु
त्यसो त गर्मी चढ्दै गर्दा सातु खाने हाम्रो परम्परा नै छ । खास गरी वैशाख शुक्ल तृतियाको दिन सातु र सर्वत खाने गरिन्छ । सातु र सर्वतले शरीरलाई शीतलता प्रदान गर्छ । यसका अनेकौं फाइदा छन् । जस्तो— मोटोपन घटाउने, मधुमेहको रोगी, उच्च रक्तचाप, कब्जियत आदिमा सातुको सेवन उत्तम मानिन्छ । अझ गर्मीमा सातुले धेरै फाइदा गर्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ, त्यसका साथै यसमा पेटलाई शीतल बनाइराख्न सहयोग गर्छ । गर्मीको दुष्प्रभावबाट बचाउन सहयोग गर्छ । धेरै गर्मीमा लू लाग्ने समस्या हुन्छ । लूबाट बचाउन सातुको सेवन गर्न सकिन्छ । गर्मीमा खाना सजिलै नपच्ने हुँदा सातुको सेवन लाभदायक हुन सक्छ । यो सजिलै पच्छ । सातुले थकान महसुस पनि हुन दिँदैन, यसको सेवनले शरीरमा ऊर्जा मिल्छ । शरीर हाइड्रेट राख्छ । सातु जौ, चना, मकैजस्ता गेडागुडीको बनाउन सकिन्छ । त्यसमा पनि गर्मीमा जौको सातु निकै उपयोगी हुन्छ । जौको सातु बनाउन खासै गाह्रो पनि छैन । जौलाई भुटेर पिसेपछि सातु तयार हुन्छ । सातुलाई लामो समयसम्म राखेर खान सकिन्छ । कतिपयले भने सातुमा घिउ, दही एवं सखर मिसाएर पनि खाने गर्छन् । सातु पानीमा मिसाएर पातलो बनाएर सर्वतका रूपमा पनि सेवन गर्न सकिन्छ । सातुमा स्वादअनुसार थोरै कागती, बिरेनुन, जिरा मिश्रण गरेर पनि पिउन सकिन्छ ।

लस्सी
सायद लस्सी मन नपराउने कमै होलान् । गर्मीको लोकप्रिय पेयमा लस्सी एक हो । यदि तपाईं २ सय ५० ग्राम दही खानुहुन्छ भने त्यसमा ७५ प्रतिशत पानी हुन्छ । यसमा भिटामिन, क्याल्सियम, फोस्फरस, पोटासियम, मिनिरल्स प्रशस्तमात्रामा पाइन्छ । दहीले पाचन प्रणाली मजबुत बनाउँछ । यसको सेवनले पेट हल्का बनाउँछ । साथै खाना चाँडै पचाउँछ । दहीको लस्सी बनाएर पिउन सकिन्छ । लस्सी घरमै बनाउन सकिन्छ । लस्सी बनाउन धेरै मेहनत पनि गर्नु पर्दैन । ताजा दहीमा चिनी र ड्राई फ्रुट्स राखेर मिक्सिङ गर्ने । त्यसमाथि फलफूलको काटेको टुक्रा राखेर खान सकिन्छ । लस्सीले पेट शीतल बनाउँछ । यसमा पाइने इलेक्ट्रोलाइट र पानीको मात्राले शरीरमा पानीको लेभल घट्न दिँदैन । लूबाट बच्न दहीको सेवन गर्न सकिन्छ, साथै लू लागिसकेपछि पनि दहीको सेवन लाभदायक मानिन्छ । दहीमा ल्याक्टिक एसिडको मात्रा पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा ब्याक्टेरियासँग लड्न सक्ने क्षमता हुन्छ । अन्य पेटको रोगमा पनि दहीले फाइदा पुर्‍याउँछ । नियमित दहीको सेवनले पेटको रोग लाग्न दिँदैन ।

नरिवलको पानी र उखुको जुस
नरिवल तराईमा प्रशस्त हुन्छ । अहिले जुनसुकै फलफूल पसलमा पनि नरिवल पानी राखिएको हुन्छ । नरिवल पानी स्वादका हिसाबले मीठो त हुन्छ नै, यसको सेवनले फाइदा पनि प्रशस्तै हुन्छ । छालाको सौन्दर्यका लागि निकै उपयोगी मानिने नरिवल पानी स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, एमिनो एसिडलगायतका पोषण तत्त्व पाइन्छ । इलेक्ट्रोलाइट्सको राम्रो स्रोत भएकाले नरिवल पानीले गर्मीमा शरीरमा पानीको मात्रा कम हुन दिँदैन र शक्ति प्रदान गर्छ । बिहान नरिवल पानी पिउँदा दिनभर शरीरमा स्फूर्ति दिन्छ, शीतल अनुभव हुन्छ । यसले पाचन प्रणाली राम्रो राख्छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोग लाग्न दिँदैन । त्यस्तै उखुको जुसको धेरै फाइदा छ । उखुको जुस सजिलै उपलब्ध हुन्छ । यसको नियमित सेवनले शरीरमा पानीको मात्रामा कमी हुन दिँदैन । पानीको कमीबाट हुने समस्याबाट छुट्कारा दिन्छ । शरीरमा ऊर्जा दिन्छ । उखुको जुसमा पुदिनाको पात मिलाएर पनि सेवन गर्न सकिन्छ ।

सलाद
सलादका रूपमा प्रयोग हुने मुला, काँक्रा, टमाटर, गाजर गर्मीमा फाइदाजनक मानिन्छ । बहुउपयोगी मुलामा प्रशस्त मात्रामा पानी हुन्छ । मुलाले खानेकुरा सजिलै पचाउन मद्दत गर्छ । गर्मीमा चाँडै रोगले समात्ने हुँदा मुलाको प्रयोग सहयोगी हुन सक्छ । यसमा एन्टी अक्सिडेन्ट प्रचुरमात्रामा पाइने भएकाले रोग प्रतिरोध क्षमता वृद्धि गर्छ । त्यसका साथै शरीरमा विषाक्त जम्मा हुन दिँदैन र शरीरमा भएको विषाक्तलाई बाहिर फाल्न सहयोग गर्छ । मुला सलादका साथै अचार, तरकारी वा जुस बनाएर सेवन गर्न सकिन्छ ।
त्यस्तै काँक्रामा पनि पानीको मात्रा धेरै हुन्छ । फाइबर र पानीको राम्रो स्रोत भएकाले कब्जियतबाट बचाउनुका साथै शरीर डिहाइड्रेट हुन दिँदैन । गर्मीमा गोलभेँडाको दैनिक सेवनले शरीरमा फाइदा पुर्‍याउँछ । यसमा भिटामिन ए, सी, फोलेट, पोटासियम, फाइबरजस्ता एन्टिअक्सिडेन्ट तत्व पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

मौसमी फलफूल
मौसमअनुसार जुन फलफूल पाइन्छ त्यसको सेवन गर्नुपर्छ । बेमौसमी खानेकुराको सेवन नगर्नु नै बेस हुन्छ । प्रकृतिले नै त्यहीअनुसारको फलफूल एवं तरकारी दिएको छ । जस्तो कि गर्मीमा खरबुजा जताततै उपलब्ध हुन्छ । यसमा ७० प्रतिशतभन्दा बढी पानी हुन्छ । यसले तिर्खा मेटाउँछ । पानीमा पनि भरपुर पोषक तत्त्व पाइन्छ । खरबुजा भिटामिन सी, ए र म्याग्नेसियमको राम्रो स्रोत हो ।
केरा पोटासियमको राम्रो स्रोत हो, यसले शरीर हाइड्रेट राख्छ । पानीको मात्रा प्रशस्त पाइने अर्को फल अंगुर हो । गर्मी मौसममा अंगुरको सेवनले शरीरमा पानीको मात्रा कमी हुन दिँदैन । लगभग ९१ प्रतिशत पानी पाइने अंगुर ग्लुकोज, म्याग्नेसियम र साइट्रिक एसिडको राम्रो स्रोत हो ।

मौसमी तरकारी
यो सिजनमा लौका पाइन्छ । यसमा लगभग ९६ प्रतिशत पानी हुन्छ, जसले शरीरमा पानीको लेभल बढाउँछ । लौका फाइबर र क्यालोरीको राम्रो स्रोत हो, जसले यो सजिलै पच्छ र अल्सर, पाइल्स तथा ग्यास्ट्रिकजस्ता समस्यामा राहत दिन्छ । त्यस्तै प्याज गर्मीमा निकै फाइदाजनक मानिन्छ । प्याजले गर्मीमा लू लाग्नबाट बचाउँछ । यो भिटामिन सी, बी ६ तथा म्याग्नेसियमको राम्रो स्रोत हो । त्यसबाहेक प्याजमा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फोस्फरस तथा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । प्याजमा एन्टिअक्सिडेन्ट तत्त्व भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । सलादका रूपमा काँचो प्याज खान पनि सकिन्छ ।
करेला मन पर्छ भने गर्मीमा करेला निकै बहुगुणी मानिन्छ । करेलाले शरीरमा शीतल बनाउने भएकाले गर्मी मौसममा यसको सेवन लाभदायक मानिन्छ । करेला सजिलै पच्छ । यसको सेवनले पाचन शक्ति बढ्छ । यसमा पर्याप्त मात्रामा फोस्फरस हुन्छ । त्यसबाहेक प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट तथा भिटामिन प्रशस्त पाइन्छ । यतिबेला पाइने हरेक प्रकारका सिमीको सेवन गर्मीमा फाइदा गर्छ । यसमा भिटामिन ए, सी तथा भिटामिन बी ६ पर्याप्त मात्रामा पाइन्छ । यसमा फोलिक एसिड, क्याल्सियम, सिलिकन, आइरन, म्याग्नेसियम, प्रोटिन, पोटासियम तथा कपर पाइन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले रोग प्रतिरोध क्षमता बढाउँछ । गर्मी मौसममा फर्सी धेरै फाइदाजनक मानिन्छ । यो खनिजको राम्रो स्रोत भएकाले यसको सेवनले शरीरमा भएका विषाक्त तत्त्व बाहिर निकाल्छ । यसमा प्रशस्त मात्रामा आइरन, म्याग्नेसियम, सेलेनियम तथा फोस्फरस पाइन्छ । गर्मीमा यसले शीतलता प्रदान गर्नुका साथै गर्मीमा हुने पेटको गडबडी हुन दिँदैन । हरियो साग पालुङ्गोमा प्रचुर मात्रामा मिनरल्स र भिटामिन पाइन्छ । यसमा लगभग ९१ प्रतिशत पानी पाइन्छ । गर्मीमा पालुङ्गोको सेवन लाभदायक मानिन्छ ।

सोफ र धनियाँको दाना
सोफको दाना चिसो हुन्छ । गर्मीमा यो पानीमा उमालेर खान सकिन्छ । यदि पेटको समस्या छ र पाचन शक्ति ठीक छैन भने खाना खाइसकेपछि थोरै सोफको दाना चपाउँदा फाइदा मिल्छ । त्यस्तै धनियाँको दाना राति पानीमा भिजाएर त्यसको पानीमा सखर मिलाएर खाएमा गर्मीमा राहत मिल्छ ।

गर्मीमा के नखाने ?
गर्मी मौसममा खानेकुरामा विशेष सचेतना अपनाउनुपर्छ । गर्मीमा यस्ता खानेकुराबाट बच्नुपर्छ, जुन खानेकुराले शरीरमा भित्रैदेखि गर्मी गराउँछ । धेरै तेल भएको, मरमसला भएको ननभेज खानाको सेवनले शरीरमा गर्मी बढाउँछ, जसकारण काममा ध्यान केन्द्रित गर्न नसक्ने, वान्ता हुने, खाना अपच हुने, अनिन्द्रा, थकान महसुस हुने जस्ता अनेकौं समस्या निम्त्याउँछ । त्यस्तै गर्मीमा लू अर्को ठूलो समस्या हो ।
गर्मीमा पेटको समस्या निम्त्याउने खानेकुराबाट टाढै रहनुपर्छ । झाडापखाला र बान्ता भएमा शरीर डिहाइड्रेट हुन सक्छ । तारेको, भुटेको, डढेको, बासी खानेकुरा भरसक नखाने । यस्ता खानेकुराले शरीरको तापक्रम बढाउँछ र पेट बिग्रन्छ । तैलीय खानेकुरा, जंक फुड, प्याकेजिङ गरिएको खानेकुरा नखाने । यसले फुड प्वाइजनिङ गराउन सक्छ । सुक्खा रोटी पच्न समय लाग्ने भएकाले यसले पेटमा गर्मी बढाउँछ । काँचो खानेकुरा नखाने । फलफूलको माथिको बोक्रा निकालेर खाने । त्यस्तै चिया र कफीले शरीरको तापक्रम बढाउँछ । गर्मीमा यसको सेवन घटाउने । मादक पदार्थ सेवन नगर्नु नै बेस हुन्छ । यसले शरीरको सबै पानी सोस्छ ।

Page 6
अपराध

इन्टरपोल : नाम कति ? काम कति ?

- जनक तिमिल्सिना

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) एक देशमा अपराध गरी अर्को देशमा लुक्ने अपराधी फेला पार्न प्रभावकारी मानिन्छ । १ सय ९४ देश सदस्य रहेको इन्टरपोलमा नेपाल प्रहरी वि.सं. २०२४ सालमा आवद्ध भएको हो । पछिल्ला १३ वर्षमा इन्टरपोलमार्फत नेपाल प्रहरीले के गर्न सक्यो त ?


 

ज्ञघ वर्ष भयो, काठमाडौंका भूपेन्द्र खड्काले विदेश पठाइदिने भन्दै आधा दर्जन नेपालीबाट ४ करोड ५० लाख झ्वाम पारेर फरार भएको । यति ठूलो रकम ठगेर विदेशमा लुकेका उनलाई पक्राउ गर्न नेपाल प्रहरीले सन् २००७ मै अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) गुहार्‍यो । इन्टरपोलले खड्काविरुद्ध रेड नोटिस जारी गरेको १३ वर्ष भएको छ । इन्टरपोलले संसारभर खोजी गरिरहेका उनी अहिलेसम्म फेला परेका छैनन् ।
क्यापिटल मर्चेन्ट फाइनान्समा कृत्रिम ऋणी खडा गरेर १ अर्ब २२ करोड ठगी गरी अमेरिका छिरेका हुन्— प्रवीणकुमार कार्की । मुद्दा चल्नुअघि ०६८ मा अमेरिका भागेका उनी अहिले उतैको नागरिकता लिएर टेक्सासमा व्यवसाय सञ्चालन गरेर बसेका छन् । ५१ वर्षीय कार्कीविरुद्ध प्रहरीले ०७२ पुसमै इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो । तर, चार वर्ष बितिसक्दा पनि उनलाई पक्राउ गरेर ल्याउन सकिएको छैन ।
बहुचर्चित ३३ किलो सुन तस्करी काण्ड तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका चार जना रोहित आचार्य, भोजराज भण्डारी, टुकबहादुर मगर र कृष्ण बस्नेतलाई अन्तर्राष्ट्रिय प्रहरीले पछिल्ला दुई वर्षदेखि खोजी गरिरहेको छ । तर, चारै जनालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
यी त प्रतिनिधि घटनामात्रै हुन्, नेपालमा अपराध गरेका तथा गरेको अभियोगमा प्रहरी खोजीको सूचीमा रहेर विभिन्न देशमा लुकेका ६६ जना नेपालीका नाममा इन्टरपोलमार्फत रेड नोटिस र डिफ्युजन जारी भएको छ । उनीहरूलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले खोजी गरिरहेको छ ।
नेपाल प्रहरीको काठमाडौंस्थित इन्टरपोलको शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) आग्रहमा खोजीको सूचीमा रहेका उनीहरू अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्, जसमध्ये अदालतले कसुरदार ठहर गरेका २८ जनाविरुद्ध रेड नोटिस जारी भएको छ । साप्ताहिकलाई प्राप्त एनसीबीको तथ्यांकअनुसार सन् २००७ देखि सन् २०२० सम्म २८ जनामाथि रेड नोटिस जारी गरेर अन्तर्राष्ट्रिय प्रहरीमार्फत खोजी थालिएको देखिन्छ, जसमा ठगी, हत्या, अपहरण, बैंकिङ ठगी, वन्यजन्तु अपराध, फाइनान्सियल क्राइम, सुन तस्करी, कीर्ते, लागूऔषधदेखि मानव बेचबिखनजस्ता अपराध संलग्नहरू देखिन्छन् । रेड नोटिस जारी भएर १३ वर्षदेखि खोजी भइरहेका भूपेन्द्रसहित ३ जना छन् । १२ वर्षदेखि खोजी भइरहेका २ जना, ९ वर्षदेखि खोजीमा रहेका १ जना, ७ वर्षदेखि खोजीमा रहेका १ जना, ६ वर्षदेखि खोजी भइरहेका १ जना, ५ वर्षदेखि खोजी भइरहेका २ जना, २ वर्षदेखि खोजी भइरहेका १३ जना र १ वर्षदेखि खोजी भइरहेका १ जना छन् ।


विभिन्न अपराधमा संलग्न भएर विदेशी भूमिमा लुकेको अभियोग लागेका थप ३८ जनालाई डिफ्युजनमार्फत अन्तर्राष्ट्रिय प्रहरी खोजी गरिरहेको छ । सन् २०११ देखि डिफ्युजनमार्फत अन्तर्राष्ट्रिय प्रहरीको खोजीमा रहेकामा फेक करेन्सी, हाइटेक क्राइम (भीओआईपी), ठगी, हत्या, आर्थिक अपराध, मानव बेचबिखन, अपहरण, संगठित अपराध, चोरी, जालसाजी, बलात्कार, संगठित मानव तस्करी, बैंकिङ अपराध तथा ठगीलगायतका आपराधिक घटनाका अभियुक्तहरू छन् । यसरी डिफ्युज जारी भएकामध्ये २ जना ९ वर्षदेखि अन्तर्राष्ट्रिय प्रहरीको खोजीको सूचीमा छन् । ९ वर्षदेखि २ जना, ८ वर्षदेखि २ जना, ७ वर्षदेखि १ जना, ४ वर्षदेखि १ जनालाई अन्तर्राष्ट्रिय प्रहरीले खोजी गरिरहेको छ । यस्तै, ३ वर्षदेखि ४ जना, २ वर्षदेखि १४ जना र एक वर्षदेखि १० जना तथा दुई महिनादेखि १ जना र एक महिनादेखि अर्का एक जनालाई अन्तर्राष्ट्रिय प्रहरी खोजीरहेको छ ।
रेड नोटिस र डिफ्युजन जारी भएको लामो समय बितिसक्दा स्वदेशमा अपराध गरेर विदेशी भूमिमा लुक्नेहरू पक्राउ पर्न सकेका छैनन् । इन्टरपोलको सहायतामा पनि उनीहरू किन पक्राउ पर्न नसकेका हुन् ? लामो समय नेपाल प्रहरीको इन्टरपोल शाखा एनसीबीमा रहेर काम गरिसकेका नेपाल प्रहरीका सह–प्रवक्ता उमेशराज जोशी नेपालको धेरै देशहरूसँग सर्पुदगी र म्युचुअल लिगल अन्डरस्ट्यान्डिङ (एमएलए) नभएका कारण स्वदेशमा अपराध गरेर विदेशमा लुक्नेलाई प्रभावकारी रूपमा खोजी तथा पक्राउ गर्न नसकिएको बताउँछन् । ‘नेपालको धेरै देशसँग सुपुर्दगी सन्धि र म्युचुअल लिगल अन्डरस्ट्यान्डिङ (एमएलए) छैन्,’ उनी भन्छन्, ‘तर, हामी इन्टरपोलका टुल्सको प्रयोग गरेर अपराध नियन्त्रण गर्न विश्व प्रहरीसँगको समन्वयमा काम गरिरहेका छौं ।’ पक्राउ परे पनि कतिपय देशहरूमा अपराधमा संलग्नहरूलाई नेपाल झिकाउनमै समस्या पर्ने गरेको अनुभव उनको छ ।
नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा पनि जोशीको तर्कसँग सहमत देखिन्छन् । इन्टरपोल आफैंमा सक्रिय हुने अनुभव आफ्नो रहेको बताउने उनी भन्छन्, ‘अहिलेजति पनि इन्टरपोलमार्फत अपराधमा संलग्नहरू ल्याइरहेका छौं, ती सबै पारस्परिक सहयोगका कारणले मात्रै आइरहेका छन् । पक्राउ गरेर ल्याउने कानुनी आधार नभएका कारण धेरै अपराधमा संलग्नहरू विदेशबाट नेपाल ल्याउन गाह्रो छ । यही कारण कतिपय पक्राउ पर्न सक्नेहरू पनि विदेशमा खुला रूपमा बसिरहेका छन् ।’ प्रहरीका पूर्व प्रवक्तासमेत रहेका शर्माका अनुसार म्युचुअल लिगल अन्डरस्ट्यान्डिङ (एमएलए) र सुपुर्दगी सन्धि गर्न सकिएमा भने इन्टरपोलको प्रभावकारिता बढाउन सकिन्छ ।
कानुनी अड्चनहरू त एकातिर छँदैछन्, केही व्यावहारिक पक्षहरूले पनि यसमा काम गरेको देखिन्छ । नेकपाका सांसदसमेत रहेका सुरक्षाविद् दीपकप्रकाश भट्ट नेपालमा अपराध गरेर विदेशी भूमिका लुकिरहेकाहरू लामो समयसम्म पक्राउ नपर्नुका पछाडि दुई कारण रहेको ठान्छन् । ‘यसका मुख्य दुई कारण हुन सक्छन्, पहिलो प्रभावकारिता र दोस्रो प्रायोरिटीे,’ उनी भन्छन्, ‘अहिले नै इन्टरपोलसम्म नै म्यानुपुलेसन भयो भन्न त सकिँदैन ।’ उनका अनुसार इन्टरपोलका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा हुने सम्मेलनमा यस्ता कुरा उठाउनुपर्नेमा जोड दिन्छन् । ‘उसले जारी गर्ने धेरै थरी नोटिस र क्याटागोरीका आधारमा संवेदनशीलतालाई कसरी लिइयो भन्ने कुराले पनि यसको प्रभावकारितामा असर गर्छ,’ उनी थप्छन् ।
यातायात तथा सञ्चारको द्रुततर विकासले ‘ग्लोबल भिलेज’मा परिणत हुँदै गएको विश्वमा अन्तरदेशीय अपराध जटिल र संवेदनशील बन्दै गएको छ । एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने ट्रेन्ड झाँगिदो छ भने एक देशबाट अर्को देशमा सजिलै हुने साइबर क्राइम पनि चुनौतीपूर्ण बनिरहेको छ । अपराधको बदलिँदो विश्वव्यापी ट्रेन्डका कारण अन्तरदेशीय अपराध नियन्त्रण जटिल बन्न पुगेको छ ।

रेड नोटिसले राहत
२९ असोज २०५७ मा चन्द्रगढी, झापाकी १९ वर्षीया सन्ध्या राजवंशीको बलात्कारपछि हत्या भयो । सीताराम बस्नेत, लीलाराज गौतम र मनोज खड्काले सामूहिक बलात्कारपछि घाँटी थिचेर उनको हत्या गरे । हत्यालाई आत्महत्या देखाउन चारआली जंगलको रूखमा लगेर सन्ध्यालाई झुन्ड्याइयो । साँझपख घरबाट ‘एकछिनमा आउँछु’ भनेर सीतारामसँगै निस्किएकी छोरी त्यो अवस्थामा भेटिएपछि उनका बुवा राजकुमारले सीतारामविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए । सीतारामसँगै लीलाराज र मनोज पनि घटनामा मुछिएपछि तीनै जनाविरुद्ध जिल्ला अदालत झापामा मुद्दा चल्यो । अदालतले गौतम र बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठायो भने तत्कालीन समयमा शाही नेपाली सेनाका सिपाही खड्कालाई खोजेका बेला दाखिला हुने गरी चारआलीस्थित तत्कालीन सिंहवाहिनी गणको हिरासतमा पठाइयो ।
जिल्ला अदालत झापाको उक्त फैसलालाई उल्टाउँदै २८ चैत २०५८ मा पुनरावेदन अदालत इलामले तीनै जनालाई सफाइ दियो । लीलाराज भारत हुँदै अमेरिका फरार भए भने मनोज र सीताराम नेपालमै थिए । मुद्दा सर्वोच्चमा पुग्यो । १९ भदौ २०६६ मा सर्वोच्च अदालतले तीनै जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनायो । सर्वोच्चको फैसलापछि मनोज र सीताराम २०७१ मा काठमाडौंमा पक्राउ परे । तर, लीलाराज अमेरिकामा लुकेर बसिरहेका थिए । अमेरिकाबाट गौतमलाई ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत उनीविरुद्ध रेड नोटिस जारी गर्‍यो । काठमाडौंस्थित एनसीबीमार्फत प्रहरीले इन्टरपोल वासिङ्टनलाई समेत आग्रह गर्‍यो । घटनाको १७ वर्षपछि २० माघ २०७४ मा गौतमलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले पक्राउ गर्‍यो । अमेरिकामा पक्राउ परेको दुई वर्षपछि ०७६ कात्तिक ६ मा उनलाई इन्टरपोलकै सहायतामा नेपाल ल्याइयो ।
८ वर्षदेखि बैंककमा पर्शुराम गुरुङको ठगीधन्दा खुबै फस्टाएको थियो । फेसबुकमार्फत नेपालीलाई अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका देशमा आकर्षक कमाइ हुने जागिर मिलाइदिने लोभ देखाएर लाखौं रकम ठगेर बिचल्लीमा पार्थे, आफू हराउँथे । पीडितहरू ठगीका उजुरी बोकेर गहन अपराधको अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा ओइरिन थाले । एकपछि अर्को लाखौं ठगीका उजुरी भकाभक पर्न थालेपछि प्रहरीले गुरुङको अपराधमाथि गम्भीर छानबिन थाल्यो । २९ असार २०७२ मा नेपाल प्रहरीले इन्टरपोलमार्फत गुरुङविरुद्ध डिफ्युजन नोटिस जारी गर्‍यो । डिफ्युजन नोटिस जारी भएको चार वर्षपछि दर्जनौं नेपालीबाट करोडौं रुपैयाँ ठगेका पर्शुराम गत वैशाखमा थाई प्रहरीको फन्दामा परे । १० जेठमा उनलाई थाइल्यान्डबाट इन्टरपोलकै सहयोगमा नेपाल झिकाएर कारबाही प्रक्रिया अगाडि बढाइयो ।
साढे ३३ किलो सुन तस्करी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त बेनु श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएई) मा लुकेर बसिरहेका थिए । उक्त घटनाका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ को सहयोगीका रूपमा दुबईमा बसेर बेनुले सेटिङ मिलाउने काम गर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले बेनुको संलग्नता सुन तस्करीमा देखिएपछि इन्टरपोलमार्फत पक्राउ गर्न पहल गरेपछि उनी दुबई प्रहरीद्वारा समातिए । पक्राउपछि इन्टरपोलकै सहयोगमा २८ असोज २०७६ मा नेपाल ल्याएर उनीमाथि थप अनुसन्धान थालियो ।
यी तीनवटा घटना नेपाल प्रहरीले यो वर्ष इन्टरपोलको सहयोगमा हत्या, बलात्कार, मानव बेचबिखनजस्ता गम्भीर अपराधमा संलग्न रहेर विदेशी भूमिमा लुकिरहेकालाई पक्राउ गरेर स्वदेश फर्काएर कानुनी कठघरामा उभ्याउन पाएका सफलता हुन् ।
इन्टरपोलसँगको समन्वयमा सन् २०१५ यतामात्रै नेपाल प्रहरीले संसारका ९ वटा देशबाट १९ जनालाई नेपाल फर्काएर कानुनी कठघरामा उभ्याएको छ, जो हत्या, वन्यजन्तु तस्करी, सुनतस्करी, अपहरण, मानव बेचबिखन, बलात्कार, ठगी, साइबर क्राइम, बैंकिङ ठगीजस्ता गम्भीर अपराधमा संलग्न तथा आरोपितहरू छन् । त्यस्तै सन् २०१७ यता विदेशमा अपराध गरेर नेपालमा लुकिरहेका ६ जनालाई पनि इन्टरपोलमार्फत नेपालले डिपोर्ट गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री इन्टरपोलले जघन्य अपराधको न्यूनीकरणमा अन्तर्राष्ट्रिय रूपमा कानुन कार्यान्वयन गर्नका निम्ति सहज र सजिलो बनाएको बताउँछन् । ‘इन्टरपोल नेटवर्कको मद्दतले फरार अपराधी एकआपसमा हस्तान्तरण भइरहेको छ । यसले जघन्य अपराधको न्यूनीकरणमा अन्तर्राष्ट्रिय रूपमा कानुन कार्यान्वयन गर्नका निम्ति सहज र सजिलो बनाएको छ,’ उनले भने । यसमार्फत हराएका मानिसहरूको खोजी पनि गरिन्छ ।
नेपालस्थित एनसीबी युनिटमा रहेर काम गरेका नेपाल प्रहरीका सह–प्रवक्ता जोशी एक देशमा अपराध गरेर अर्को देशमा भागेकाहरूलाई खोज्न इन्टरपोलले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँछन् । कानुनी रूपमा सुपुर्दगी सन्धि नभएका देशहरूमा लुकेर बसेका अपराधमा संलग्न र प्रहरी खोजीमा रहेकाहरूलाई पनि अहिले नेपाल प्रहरीले इन्टरपोलमार्फत डिपोर्ट गरेर स्वदेश ल्याउँदै आएको छ ।
झांगिँदो अन्तरदेशीय अपराध नियन्त्रणका लागि विश्वव्यापी रूपमा काम गर्ने इन्टरपोलजस्ता संस्थाहरूको सक्रियता त छँदैछ, नेपाल स्वयंले पनि बदलिँदो अपराध प्रवृत्ति रोक्न पहल थाल्नुपर्ने आवश्यकता टड्कारो बन्दै गएको छ । कानुनी झमेलाहरूको निराकरण, सुरक्षा संयन्त्रको क्षमता अभिवृद्धिका साथै इमिग्रेसनलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि उत्तिकै देखिन्छ । सुरक्षाविद् गेजा शर्मा वाग्ले टेक्नोलोजीमा आधारित अपराधको प्रवृत्ति बढ्दै गएकाले अन्तरदेशीय अपराध जटिल बन्दै गएको बताउँछन् । ‘अहिले प्रविधिमा आधारित अपराधको प्रवृत्ति बढ्दै गएको छ,’ उनी भन्छन्, ‘त्यसैले अन्तरदेशीय अपराध जटिल बन्दै गएको छ ।’ अन्तरदेशीय अपराध बहुआयामिक रहेको उल्लेख गर्दै उनले त्यसको नियन्त्रणका लागि सर्वप्रथम नेपाल सरकार र नेपालका सुरक्षा निकायले स्पष्ट रणनीति र कार्ययोजना बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘सर्वप्रथम नेपाल सरकार र सुरक्षा निकायले अन्तरदेशीय अपराध नियन्त्रणका लागि रणनीति र कार्ययोजना बनाएर प्रभावकारी कार्यान्वयन जोड दिनुपर्छ,’ उनले भने, ‘त्यसपछि मुख्यतया छिमेकी देश भारत र चीनका सुरक्षा निकाय तथा इन्टरपोलजस्ता अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्नुपर्छ ।’

इन्टरपोल इन्फो
अपराधीसँग सम्बन्धित रेड नोटिसलगायत अन्य विभिन्न प्रकारका नोटिस जारी गर्ने र आफ्नो सञ्जालमार्फत विश्वभरका पुलिसमाझ अपराधसम्बन्धी सूचनाहरू आदान–प्रदान गर्ने काम इन्टरपोलले गर्दै आएको छ । इन्टरपोलमा अहिले संसारभरका १ सय ९४ देश सदस्य छन् । सदस्य देशहरूको पुलिस संगठनभित्र इन्टरपोलको काम गर्ने युनिटका रूपमा एनसीबीहरू सक्रिय छन् । ११ असोज २०२४ मा १ सय औं सदस्यका नेपाल इन्टरपोलमा प्रवेश गरेको हो ।

 

जारी गर्ने नोटिस

  • रेड नोटिस— अपराध गरेर विदेशमा लुकेका अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई पक्राउ गर्न । 
  • डिफ्युजन— प्रहरी अनुसन्धानमा र अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्तिलाई खोजी गर्न ।
  •  ब्ल्यू नोटिस— अपराधीबारे जानकारी दिन ।
  • यल्लो नोटिस— हराएको व्यक्तिलाई खोजी गर्न । 
  • ब्ल्याक नोटिस— सनाखत हुन नसकेको शवबारे ।

 

 

‘इन्टरपोलले जारी गर्ने धेरै थरी नोटिस र क्याटागोरीका आधारमा संवेदनशीलतालाई कसरी लिइयो भन्ने कुराले पनि यसको प्रभावकारितामा असर गर्छ ।’
दीपकप्रकाश भट्ट, सुरक्षाविद्

 


‘नेपालको धेरै देशसँग सुपुर्दगी सन्धि र म्युचुअल लिगल अन्डरस्ट्यान्डिङ (एमएलए) छैन् । हामी इन्टरपोलका टुल्सको प्रयोग गरेर अपराध नियन्त्रण गर्न विश्व प्रहरीसँगको समन्वयमा काम गरिरहेका छौं ।’
उमेशराज जोशी, सह प्रवक्ता, नेपाल प्रहरी

 

‘सर्वप्रथम नेपाल सरकार र सुरक्षा निकायले अन्तरदेशीय अपराध नियन्त्रणका लागि रणनीति र कार्ययोजना बनाएर प्रभावकारी कार्यान्वयन जोड दिनुपर्छ ।’
गेजा शर्मा वाग्ले, सुरक्षाविद्

 

इन्टरपोलको प्रभावकारी संयन्त्र

शैलेश थापा क्षेत्री, प्रवक्ता, नेपाल प्रहरी

स्वदेशमा अपराध गरेर विदेशमा लुक्ने मात्र होइन, विदेशमा अपराध गरेर नेपालमा लुक्ने काम पनि गर्छन् । त्यसका कारण यो दुवैतिर हुन्छ । यस्तो अवस्थामा इन्टरनेसनल पुलिस अर्गनाइजेसन (इन्टरपोल) ले सहयोग गर्छ । सामान्यतया इन्टरपोलका प्रत्येक सदस्य राष्ट्रका पुलिस संगठनभित्र काम गर्ने युनिट एनसीबी हुन्छ । एनसीबी काठमाडौंले अमेरिकासँग कुनै कुरा सोध्नुपर्‍यो भने एनसीबी न्युयोर्कसँग कुरा गर्छ । चीनसँग सम्बन्धित एनसीबी बेइजिङसँग कुरा हुन्छ ।
इन्टरपोलले जारी गर्ने सबैभन्दा प्रख्यात नोटिस ‘रेड नोटिस’ हो । फरार अभियुक्तलाई पक्राउ गर्नुपर्‍यो भने रेड नोटिस जारी गर्छ । रेड नोटिस सामान्यतया अदालतबाट आदेश भएर अपराधी निर्योल भइसकेको व्यक्तिको हकमा जारी हुन्छ । कतिपय सदस्य राष्ट्रमा सुपुर्दगी सन्धि भएको हुँदैन । यस्तो अवस्थामा इन्टरपोल नेटवर्कको मद्दतले फरार भएका अपराधीहरूलाई एकआपसमा हस्तान्तरणको काम गर्छौं । यसले जघन्य अपराधको न्यूनीकरणमा अन्तर्राष्ट्रिय रूपमा कानुन कार्यान्वयन गर्नका निम्ति सहज र सजिलो बनाउँछ ।
इन्टरपोल टेक्नोलोजी बेस्ड पोलिसिङ गर्ने निकाय पनि हो । उनीहरूले धेरै प्रकारका सफ्टवेयर विकास गरेका छन् । हामीले अध्यागमन विभागसँग समन्वय गरेर इन्टरपोलले डेभलप गरेका सफ्टवेयरहरू एयरपोर्टमा इन्स्टल गरेका छौं । रेड कर्नर नोटिस जारी गरेको मान्छे कुनै देशबाट नेपाल आउँदैछ भने त्यसको सुरुमै पुलिसलाई संकेत आउँछ । त्यसो भएमा आउनुपूर्व नै इन्ट्री रद्द गर्न सकिने भयो वा कानुनी रूपमा सम्भव भयो भने त्यस्ता मान्छेहरूलाई पक्राउ गरेर उता पठाउन पनि सकिन्छ । हराएका डकुमेन्टहरूको छुट्टै एप पनि इन्टरपोलले बनाएको छ । फ्रान्समा पासपोर्ट हरायो, त्यसको गलत प्रयोग गरेर कसैले यात्रा गरिरहेको छ भने इन्टरनेसनल इन्ट्री प्वाइन्टहरूमा सूचना आउँछ ।
कसैले कुनै घटना घटाएर अर्को देशमा फरार भयो भने त्यस्तो अवस्थामा काम गर्न सदस्य राष्ट्रहरूको अनुरोधमा विभिन्न प्रकारका नोटिस इन्टरपोलले जारी गर्छ । ती नोटिसहरूलाई प्राथमिकतामा राखेर इन्टरपोलले काम गर्छ । पहिले यसलाई रेड कर्नर नोटिस भनिन्थ्यो, अहिले रेड नोटिस भनिन्छ । पहिले कागजको कुनामा रेड प्याच लाइदिने भएकाले रेड कर्नर हुन्थ्यो । आजकल त्यो शब्द प्रयोग हुँदैन, रेड नोटिस भनिन्छ ।
आफूखुसी कसैको विरुद्ध रेड नोटिस जारी गर्न सकिँदैन । भरपर्दा कागजात, स्थानीय अदालतले गरेको अपराध पुष्टि र तदनुरूपको सजाय तोकिसकेको अवस्थामा इन्टरपोलले स्वीकार गर्ने भाषामा डकुमेन्टहरू एनसीबी काठमाडौंमार्फत हेडक्वार्टर पठाउनुपर्छ । त्यसको समीक्षा गरिसकेपछि मात्रै नोटिसहरू जारी हुन्छ । इन्टरपोलले सदस्य राष्ट्रहरूका पुलिस संगठनलाई सशक्तीकरण पनि गर्छ । तालिम र निश्चित अपराधविरुद्ध अभियान सञ्चालन गर्छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका सभा–सम्मेलन हुन्छ । फ्रान्सको लियोनस्थित हेडक्वार्टरमा प्रत्येक वर्ष प्रहरी प्रमुखहरूको बैठक हुन्छ ।

 

Page 9
कुराकानी

हाँस्नभन्दा हँसाउनै सजिलो

अरूलाई हँसाउन सजिलो छ, मलाई हत्तपत्त कसैले हँसाउन सक्दैन
- राधिका अधिकारी

तस्बिर : महेश प्रधान 

कमेडी च्याम्पियन बनेपछि के परिवर्तन आयो तपाईंमा ?
पहिले थोरैले चिन्नुहुन्थ्यो । युवालक्षित कमेडीमात्रै गर्थें । कमेडी च्याम्पियनमा सबै उमेर समूहका दर्शकलक्षित कमेडी गरियो । चिन्ने समूह ठूलो भएको छ । सबै उमेर समूहको माया पाएको छु । त्यसैले सबै उमेर समूहलक्षित ‘कन्टेन्ट’ बनाउन मेरो ध्यान गइरहेको छ ।

सबै उमेर समूहका लागि बनाइने कन्टेन्टचाहिँ फरक हो ?
सुरुमा त मलाई फरक हुन्छ जस्तो लागेको थिएन । लागेको थियो– कमेडी भनेको कमेडी नै हो, जस्तो ‘कन्टेन्ट’ भए पनि हँसाउन सकिन्छ । तर, फरक हुँदो रहेछ । जस्तो ‘जोक्स’ले युवाहरू हाँस्नुहुन्थ्यो, त्यसमा अहिले पाका ‘अडियन्स’ हाँस्नुभएन । उहाँहरूलाई ‘सटायर’ मन पर्दो रहेछ । ‘जोक्स’ भन्दा फरक खालको कमेडीमा रमाउने अर्को समूह हुँदो रहेछ । कमेडीमा पनि फरक–फरक स्वाद हुँदो रहेछ र त्यसका आ–आफ्नै ‘अडियन्स’ हुँदा रहेछन् भन्ने कमेडी च्याम्पियनमा आएर थाहा पाएँ ।

कमेडी च्याम्पियनको यात्राचाहिँ कसरी सुरु भयो ?
त्यसअघि म ‘कमेडी सर्कल’मा स्ट्यान्ड–अप कमेडी गर्थें । त्यसमा अभिनय हुँदैनथ्यो । सीमित समूह थियो । त्यहाँ हामी ‘टेलिभिजन रियालिटी शो’बारे पनि सोच्थ्यौं । कमेडीसम्बन्धी ‘रियालिटी शो’ ल्याउँदा कस्तो होला भन्ने छलफल पनि हुन्थ्यो । कतिपयको धारण थियो— कमेडीमा ‘रियालिटी शो’ राम्रो हुँदैन । यसैबीच ‘कमेडी च्याम्पियन’ आयो । मलाई लाग्यो— यो मञ्च ठूलो प्लेटफर्म हो । तर, जाऊँ कि नजाऊँ भन्ने दुविधा थियो । साथीहरूको सल्लाहमा गएँ र उपाधिसम्मको यात्रा तय भयो ।

च्याम्पियन बन्छु भन्नेमा ढुक्क हुनुहुन्थ्यो ?
प्रतिस्पर्धामा सबै उपाधिकै सपना देखेर आउँछन् । झन्डै दुई वर्ष आफैं ‘कन्टेन्ट’ लेख्ने र प्रस्तुत गर्ने अनुभव थियो । त्यसैले अडिसनबाटै आत्मविश्वास थियो । हुन त ‘कमेडी सर्कल’मा मभन्दा बढी परिचित साथी त हुनुहुन्थ्यो, उहाँहरू पनि प्रतिस्पर्धामा सहभागी हुनुहुन्थ्यो । तथापि मेरो ‘आइडिया’मा मलाई विश्वास थियो । साथै निरन्तर मेहनत गरिरहेँ । अहिले लाग्छ, सपना देखियो र त्यसलाई पूरा गर्न मेहनत गरियो भने सफल हुन सकिने रहेछ ।

च्याम्पियन बन्दा कसको सम्झना पहिले आयो ?
त्यतिबेला विशेष अनुभूति भएको थियो । मैले कसैलाई सम्झिन सकिनँ । आमा–बुबा र आफन्त त्यहीँ हुनुहुन्थ्यो । ‘सुट’ सकिएपछि हुटिङ भइरहेको थियो, चारैतिरबाट बोलाइरहनुभएको थियो । झन्डै दुई घन्टा ‘म त खत्रै भएछु’ कि भन्ने अनुभूति पनि भयो । जब रुम फर्किएँ, त्यसपछि सामान्य भएँ । पहिलाजस्तो थिएँ, अहिले पनि उस्तै छु नि भन्ने भयो ।
अहिलेसम्मको जिन्दगीमा मेरो लागि सबैभन्दा महत्त्वपूर्ण क्षण बन्यो त्यो पल । अरू महत्त्वपूर्ण क्षण निर्माण गर्न थप मेहनत जरुरी छ । भोलि म जहाँ पुगे पनि ‘कमेडी च्याम्पियन’को त्यो मञ्च, हौसला र सिकाइ महत्त्वपूर्ण रहनेछ । कमेडी च्याम्पियनको टिम अनि यति धेरै माया गरेर मलाई खुसी र उचाइ दिने हरेकलाई कहिल्यै भुल्नेछैन ।

यस्तो प्रतियोगितामा क्षमता र भोटको कस्तो सम्बन्ध हुँदो रहेछ ?
क्षमता नै नभए त भोट कसरी आउँथ्यो होला र ? अनि भोटले मात्रै त कसरी जितिएला ? कमेडी च्याम्पियनमा सबैभन्दा बढी अर्थात् तीन पटक ‘पर्फमर अफ द राउन्ड’ भएको थिएँ । फाइनलमा पुगेका सुमन कोइराला दुई पटक तथा खड्गबहादुर ‘खबपु’ पुनः एकपटक ‘पर्फमर अफ द राउन्ड’ हुनुभएको थियो । यसरी हेर्दा सुरुदेखि अन्तिमसम्मको प्रस्तुति हेर्ने हो भने नतिजा स्वाभाविक लाग्छ । त्यसमा भोट एउटा ‘फरम्याट’ हो । यसमा मलाई अडियन्सको माया पनि उत्तिकै प्राप्त भयो ।

तपाईं च्याम्पियन बनेपछि सन्तोष पन्तको नामसमेत जोडेर विरोध भयो । यसलाई कसरी लिनुभयो ?
यो विवाद नभएको भए हुन्थ्यो । थर मिल्दैमा ‘सपोर्ट’ हुन्छ भन्ने धारणा नै गलत हो । सन्तोष पन्तसँग भेट हुने भनेको सुटिङका बेलामा मात्रै हो । त्यो बेला पनि उहाँ आउनुहुन्थ्यो, बस्नुहुन्थ्यो । धेरै बोलचाल हुँदैनथ्यो । प्रस्तुतिमा ‘कमेन्ट’ गर्नुहुन्थ्यो, जानुहुन्थ्यो । त्यसबाहेक हाम्रो अरू कुनै खालको ‘कनेक्सन’ नै हुँदैनथ्यो । त्यसमा पनि एउटा ‘जज’को ‘इन्ट्रेस्ट’ले मात्रै चल्ने भए हरेकको फरक रुचि हुन्छ होला नि !

अन्तिमसम्म साथै रहेका दुई प्रतिस्पर्धीलाई कसरी सम्झिनुहुन्छ ?
उहाँहरूको आफ्नै खालको क्षमता छ । खबपु ‘स्टोरी टेलिङ’मा असाध्यै राम्रो गर्न सक्ने मान्छे हुनुहुन्छ । ‘क्यारेक्टर बेस्ड’ कमेडीमा सुमनको राम्रो सम्भावना छ । मेहनत र निरन्तरता भयो भने उहाँहरूको भविष्य निकै सुन्दर छ जस्तो लाग्छ । उहाँहरू पनि लामो दौडको घोडा हो । त्यतिमात्रै होइन, ‘टप सेभेन’ मा पुग्नुभएका सबै कमेडी च्याम्पियनको उत्तिकै दाबेदार हुनुहुन्थ्यो । उत्तिकै सम्भावना र क्षमता थियो ।

कमेडी च्याम्पियनको यात्रामा केही नमीठो अनुभूति पनि भयो ?
प्रस्तुतिका क्रममा धर्मको सन्दर्भमा ‘कन्ट्रोभर्सी’ बन्यो । त्यसबेला एकदमै धेरै गाली खाएँ । त्यस्ता गाली हेर्दिनँ भन्दा पनि हेर्न मन लाग्थ्यो, जसले दिमाग नै ह्याङजस्तो भयो । दुई एपिसोड म ‘डिस्टर्ब्ड’ भएँ । त्यसबेला यस्तो कुरा आउँछ, आत्तिनु हुन्न भनेर धेरैले सम्झाउनुभयो । रवि लामिछाने दाइले पनि फोन गरेर गालीसँग नडराउन भन्नुभयो । उहाँहरूको उत्प्रेरणाले आफूलाई ‘रिकभर’ गरेँ ।

अहिले अलि–अलि अपाच्य वा दोहोरो अर्थ लाग्ने शब्द नबोले कमेडी हुन्न भन्नेजस्तो मानसिकता विकास भएको पाइन्छ, तपाईं पनि त्यसबाट अछूत हुनुहुन्न, यसलाई कसरी हेर्नुहुन्छ ?
युवालक्षित कमेडी गर्दा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग गर्थें । कारण— मेरा अडियन्स नै त्यस्तै थिए । त्यस्ता भिडियो युट्युबमा हेर्ने हो भने ९९ प्रतिशत लाइक छ । उहाँहरूले त्यहाँ ‘इन्जोय’ गरिरहनुभएको छ । जब कमेडी च्याम्पियनको सुरुमा आफ्नो सर्कलबाट माथि उठ्न अलि गाह्रो भयो । पछि, यहाँ त सबै वर्गका अडियन्सका लागि कमेडी गर्दैछौं भन्ने सोचेर सुधारेको हो । सुरुवातका ५–७ प्रस्तुतिपछि एउटा पनि त्यस्तो खाले ‘जोक्स’ पाउनु हुन्न । ‘क्लिन कन्टेन्ट’ छ । मैले ‘कन्डम’को ‘जोक्स’ भनेको छु । जसलाई लिएर पनि अपाच्य भन्ने गुनासा सुनिए । त्योचाहिँ मलाई अपाच्य हो भन्ने लाग्दैन । यो हाम्रो स्वास्थ्यसँग जोडिएको कुरा हो र कन्डमको विज्ञापन हामी मज्जाले हेरिरहेका हुन्छौं नि ।

विज्ञान अध्ययनको पृष्ठभूमिबाट कमेडीमा आइपुग्न के–के कुराले उत्प्रेरित गर्‍यो ?
सबैभन्दा ठूलो त आफ्नै सपनाले उत्प्ररित गरेको हो । म विज्ञानको विद्यार्थी हुनुपहिले नै कमेडियनको सपना बोकेर हिँडेको थिएँ । स्कुलतहबाटै कमेडी गर्थें । एसएलसीमा राम्रो अंक आयो, त्यसपछि विज्ञान संकायमा पढ्न सुरु गरेँ । त्यसले मेरो कमेडी मोहलाई असर गरेन ।

कमेडीका लागि राजनीतिक कन्टेन्ट किन बढी छान्नुहुन्छ ?
मलाई राजनीतिमा धेरै रुचि छ । राजनीतिक विषय अध्ययन गर्छु, खोजी गर्छु । आफ्नो रुचिको विषयमा लेख्दा ‘फिल’ आउँछ । नेताहरूलाई व्यंग्य गर्न आफैंलाई पनि मज्जा लाग्छ । ‘अडियन्स’ले मेरो राजनीतिक व्यंग्यमा आनन्द अनुभव गरेको प्रतिक्रिया दिनुहुन्छ । उहाँहरूलाई आनन्द आउँदा मलाई पनि आनन्द लाग्छ ।

हाँस्न सजिलो कि हँसाउन ?
हाँस्न आफैं सिकिने रहेछ । हँसाउनचाहिँ अनुभव नै चाहिन्छ । काम गर्दै जाँदा सिक्दै गएँ । सिक्ने चरणमा हलिउड, बलिउड सबै क्षेत्रका कमेडी हेरियो । त्यहीँबाट लेख्न र प्रस्तुति दिन सिकेँ । अहिले पनि सिक्दैछु । तथापि मेरो सन्दर्भमा अरूलाई हँसाउन सजिलो हो, मलाई हत्तपत्त कसैले हँसाउन सक्दैन । हलिउड–बलिउडका कमेडीमा चाहिँ मज्जाले हाँसिरहेको हुन्छु । कुनै–कुनै अवस्थामा आफ्नो जोक्स आफैंलाई मन पर्छ । त्यस्तो अवस्थामा दर्शकसँगै म पनि हाँस्छु । नत्र आफ्नो प्रस्तुतिमा दर्शकजसरी हाँसिँदैन ।

कमेडीमा चेतना वा सन्देशको आवश्यकता कत्तिको देख्नुहुन्छ ?
योचाहिँ ‘अडियन्स’मा भर पर्छ । पाको उमेरसमूहका लागि सन्देश चाहिन्छ । युवालाई ९९ प्रतिशत ‘कमेडी’ चाहिन्छ ।

हास्यव्यङ्ग्य र जीवनको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?
जीवनमा हामी अनेकन् समय दुःखी भइरहेका हुन्छौँ । एउटै काम ‘मोनोटोनस’ हुन्छौं । यस्तो बेला हामी खुसी खोजिरहेका हुन्छौं । यस्तो बेला हास्यव्यङ्ग्यले हामीलाई फ्रेस बनाउँछ ।

के योजना बुन्दै हुनुहुन्छ ?
अहिले भइरहेको र गरिरहेको भन्दा फरक खालको ‘कमेडी’ ल्याउने सोचमा छु । ‘अडियन्स’लाई छुने खालको कमेडी गर्छु । कमेडी च्याम्पियनमा गएपछि मैले मेरो युट्युब च्यानल हेर्न पाएकै छैन । व्यक्तिगत युट्युबमा पनि उत्तिकै सक्रिय हुन्छु ।

Page 10
समाचार

मीरा राणालाई सम्मान

- साप्ताहिक संवाददाता

काठमाडौं– रेडियो कान्तिपुरले गायिका मीरा राणालाई सम्मान गर्ने भएको छ । रेडियोले आफ्नो मासिक सांगीतिक कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ मा यसपटक गायिका राणालाई सम्मान गर्न लागेको हो । पुल्चोकस्थित रेडियो कान्तिपुरको स्टुडियोमा शनिबार हुने कार्यक्रममा नीशा देसार, बानिका प्रधान, मेनुका प्रधान, सबिन सुवेदी तथा चिरीमाया महर्जनले गायिका राणाका लोकप्रिय गीत प्रत्यक्ष गाउने छन् । ‘मखमली चोलो चाहिँदैन’, ‘बाडुली लाग्यो’, ‘बिर्सिएर मैले फेरि’ आदि गायिका राणाका लोकप्रिय गीत हुन् । यो कार्यक्रम मध्यान्न १२ बजेसम्म रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

समाचार

उमेश बने च्याम्पियन

- पर्वत पोर्तेल

झापा— धरानमा सम्पन्न राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको तेस्रो संस्करणमा बिर्तामोडका उमेश राई च्याम्पियन बने । गत साता सम्पन्न प्रतियोगितामा ७५ केजीभन्दा बढी तौल समूहमा पहिलो हुँदै राई ‘च्याम्पियन अफ दि च्याम्पियन’ बनेका हुन् । उनले प्रतियोगितामा च्याम्पियन हुन निकै मेहनत गरेको बताए । ‘प्रतियोगितापूर्व दैनिक ४ घण्टा अभ्यास गरेँ’, उनले भने, ‘त्यसैअनुसार डाइट पनि बढाएँ ।’ उनका अनुसार प्रतियोगिता तयारी गर्न ४ महिनाभन्दा बढी लाग्यो । डाइटमा मात्रै मासिक डेढ/दुई लाख रुपैयाँ खर्च भएको उनको अनुभव छ । उनले शारीरिक सुगठन प्रभावकारी बनाउन दैनिक रूपमा दुई किलो चिकेन, १० वटा अण्डा, २५० ग्राम साल्मन, ३०० ग्राम बिफ, ६०० ग्राम कार्बोहाइट्रेड र ५०० ग्राम भेजिटेबल सेवन गर्ने गरेको बताए ।
यसअघि २०७५ मा काठमाडौंमा भएको मिस्टर एभरेस्ट र साउथ एसियन च्याम्पियनसिपमा समेत च्याम्पियन बनेका उनी ७३ सालको १४ औं मिस्टर धर्मश्री प्रतियोगितामा तेस्रो भएका थिए । आफ्ना दाजु तेक्वान्दो खेलाडी राजकुमार राईको प्रेरणाबाट बडीबिल्डिङमा लागेका उमेश २०६२ सालमा झापामा सम्पन्न एक प्रतियोगितामा ६० केजी तौल समूहमा तेस्रो भएका थिए । उनी अर्को वर्ष जेठमा काठमाडौंमा आयोजना हुने धर्मश्री र दसैंअघि पोखरामा हुने बुल्स मेन प्रतियोगिताको तयारीमा जुटेका छन् ।

समाचार

सिड्नीमा हेरिटेज अफ फेसन

- साप्ताहिक संवाददाता

एएसएपी इन्टरटेनमेन्टको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा ‘हेरिटेज अफ फेसन–२०२०’ सम्पन्न भएको छ । फेसन शोमा नेपालसहित भारत, चीन, अस्ट्रेलिया, न्युजिल्यान्ड, कोरिया, फिलिपिन्सलगायत देशका ३५ मोडल र्‍याम्प वाल्कमा देखिएका थिए । उनीहरू विभिन्न ९ सिक्वेन्समार्फत र्‍याम्प वाल्कमा प्रस्तुत भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जनाए ।
सहभागी मोडल अडिसनमार्फत अस्ट्रेलियामा नै छनोट गरिएको हो । शोमा सहभागी नेपाली मोडल नेपालका विभिन्न जातजातिले लगाउने पोसाकसहित नेपाल झल्काउने थिममा सजिँदै र्‍याम्प वाकमार्फत प्रस्तुत भएका थिए । फेसन शोमा चर्चित मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार शो टपर भएका थिए । फेसन शो मार्च १४ तारेखमा अस्ट्रेलियाको सिड्नीमा रहेको सोफिटेल होटलमा भएको हो ।
यसअघि एएसएपी इन्टरटेनमेन्टले पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’ नामको फेसन शो आयोजना गरेको थियो ।

समाचार

सुर साधनामा डेनी

- साप्ताहिक संवाददाता

काठमाडौं– सांस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन श्रृंखला ‘सुर साधना’को अठारौं संस्करणमा यसपटक गायक तथा संगीतकार डेनी निरौला प्रस्तुत भए । कार्यक्रममा गायक निरौलाले ‘म जिउँदो लाश’, ‘धेरै–धेरै लामो कथा’, ‘फूल दिन्छु भन्थ्यौ’, ‘लाली हुँदो रहेछ माया’ लगायतका गीत गाएका थिए । डेनीले सबै गीत आफ्नी आमालाई समर्पण गरेका थिए ।
कार्यक्रममा गायिकाकी बहिनी झुमा निरौलाले युगल गायनमा डेनीलाई साथ दिइरहँदा खड्ग बुढामगर, लोकराज राई, अनुप दास, रोहित सुवेदी, दुर्गाप्रसाद खतिवडा, दीपेन्द्र बज्राचार्य, भगीरथ सुस्लिङ, सीता मैया राजचल र नरेश प्रजापतिले वाद्यवादनमा सहयोग गरेका थिए ।

समाचार

पोखरेलीलाई कला सिकाउँदै अनुप

- साप्ताहिक संवाददाता

पोखरा –अहिले रंगकर्मी अनुप बराल पोखरामा कलाकारिता सिकाउन व्यस्त छन् । ‘मार्स्टस क्लास विथ अनुप बराल’ नामक कार्यशालामा सहभागीलाई बरालले अभिनयमा निखारता ल्याउने कला सिकाइरहेका छन् । पोखरामै जन्मिएका उनले ‘एक्टर्स स्टुडियो नेपाल’ले तयार पारेको कार्षमा कक्षा लिइरहेका छन् । तीन महिनाको उक्त अभिनय कोर्ष स्थानीय सहरमै सिक्न पाएकामा पोखरेली कलाप्रेमी खुसी छन् ।
भारतको नेसनल स्कुल अफ ड्रामाबाट आफूले सिकेको कलासम्बन्धी ज्ञान आफ्नै सहरका कलाप्रेमीबीच बाँड्न पाउँदा खुसी लागेको बरालले बताए । बरालले पोखरामा नै आर्ट हब खोल्ने योजनासमेत सुनाए । ‘पोखरालाई आर्ट हबका रूपमा विकास गर्ने योजना छ’, उनले भने, ‘बजेट अभावका कारण तत्काल काम अघि बढाउन अफ्ठ्यारो भइरहेको छ ।’ पोखरामा अनुपको निर्देशनमा नाटक मञ्चनको तयारी भइरहेको छ ।

Page 11
समाचार

पोडकास्टमा ऋचा

- शिव शर्मा

अमेरिका– अमेरिका बस्दै आएकी अभिनेत्री ऋचा घिमिरे ‘पोडकास्ट’ मार्फत विश्वभर गुञ्जन थालेकी छन् । ‘इनकमर विथ ऋचा’ नामाकरण गरिएको उनको कार्यक्रम आइफोन हुनेहरूले पोडकास्ट एप्समा गएर इनकमर सर्च गरी सुन्न सक्नेछन् । यो एप्स हरेक आइफोनमा उपलब्ध छ । त्यस्तै एन्ड्रोइड मोबाइल हुनेले पनि पोडकास्ट एप्स डाउनलोड गरी ‘कार्यक्रम सुन्न सक्नेछन् ।
उनले चलाउने ३५ देखि ४० मिनेटको उक्त कार्यक्रम महिलासँग सम्बन्धित छ । आफ्नो देश छाडेर अन्य देशमा बसेर सफलता हासिल गरेका महिलाहरूलाई खोजेर उनले पोडकास्टमार्फत चिनाउँदै आएकी छन् । कुनै बेला पोडकास्टकी फ्यान घिमिरेलाई आफैं केही न केही गर्ने रहर पलायो । र, उनी आफैं कार्यक्रम चलाउन थालेकी हुन् । ‘महिलाको विषयमा आवाज उठाउनुपर्छ जस्तो लागेर पोडकास्टमा कार्यक्रम सुरु गरेकी हुँ,’ ऋचा भन्छिन्, ‘अन्य देशमा जीवनयापन गरेका महिलाहरूको यात्राको कहानीलाई समेट्ने कोसिस गरेकी छु ।’
ऋचाका श्रीमान् शंकर घिमिरेले उक्त कार्यक्रम निर्माण गर्न सघाइरहेका छन् । उनले वेल डन क्रियसनमार्फत ऋचाको कार्यक्रमलाई श्रोता माझ पुर्‍याउने काम गरेका छन् । उनले घरमै कार्यक्रमका लागि स्टुडियो निर्माण गरेका छन् । ‘अडियोमा मात्रै सीमित यो कार्यक्रलाई अब छिट्टै युटयुबमार्फत पनि सार्वजनिक गर्ने तयारी गरिरहेका छौं,’ घिमिरेले भने, ‘भिडियोमा पनि पोडकास्टलाई दर्शकले हेर्न पाउनेछन् ।’
चार महिनाअघि सुरु भएको यो रेडियो कार्यक्रममा ऋचाले महिला अभियान्ताहरू डा. विष्णुमाया परियार, बन्दिता शर्मा दाहाल हेलेन, श्वेता उपाध्यायदेखि मलेसियामा बस्दै आएकी पूर्वमिस नेपाल झरना बज्राचार्य लगायतलाई समेटी सकेकी छन् । नेपालीसँगै विदेशी महिलाहरूलाई उनले यो कार्यक्रममा समेटेकी छन् । उनको यो कार्यक्रम छोटो समयमा नेपाली समुदाय मात्र नभई विदेशी श्रोतामाझ पनि लोकप्रिय बनिरहेको छ ।
नेपालमा हुँदा पनि टेलिभिजन कार्यक्रम प्रस्तोता रहेकी घिमिरेले ३० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् ।

समाचार

हिमालयन म्युजिक एवार्ड सम्पन्न

- साप्ताहिक संवाददाता

काठमाडौं– ‘सिर्जनाको मूल्यांकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक एवार्डको तेस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ ।
अघिल्लो साता राष्ट्रिय नाचघरमा सम्पन्न एवार्ड वितरण समारोहमा लोक, आधुनिक, पप, तामाङ सेलो, म्हेन्दोमाया, चलचित्र तथा म्युजिक भिडियो विधामा पुरस्कारहरू वितरण गरिएको थियो । समारोहमा गायक यश कुमारले सर्वोत्कृष्ट चलचित्र पार्श्व गायक तथा गायिका दीपा लामाले पार्श्व गायिकाको एवार्ड जिते । गायक दुर्गेश थापाले राष्ट्रिय भावना बोकेको गीतबाट एवार्ड पाए भने गायक आशुषेन लामाले वर्षको चर्चित गीतको एवार्ड जिते । आधुनिक विधातर्फ कर्णराज गिरीले आधुनिक गीत गायनको एवार्ड जिते भने सबिन लामाले पप गायकको एवार्ड जित्न सफल भए । गायक शसान कँडेलले पप गायनतर्फको पब्लिक च्वाइस एवार्ड जित्न सफल भए ।
यसअघि सन् २०१८ मा मलेसिया र २०१९ मा कतारमा उक्त एवार्ड वितरण भएको थियो । यसपटक दुबईमा गर्ने तय भएको कार्यक्रम कोरोना भाइरस आतंकका कारण काठमाडौंमै गरिएको आयोजक संस्थाले जनाएको छ ।

Page 12
कलिउड

आँचलको पहिरन विवाद

- साप्ताहिक संवाददाता

अभिनेत्री आँचल शर्माको विवाह समारोहपछिको पार्टीमा हेलिकप्टरबाट अवतरण गरेको, उक्त पार्टीमा उनले लगाएको पहिरन तथा गरगहनाको मूल्यले यतिबेला सामाजिक सञ्जाल तताएको छ । आँचलले विवाहको पार्टीको दिन ६० लाख रुपैयाँ पर्ने गहना तथा १६ लाख रुपैयाँ पर्ने लेहेंगा लगाएको समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा यो विषयले चर्चा पाएको थियो । अधिकांशले आँचलको गहना तथा पहिरनमा नकारात्मक प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया जनाउनेहरूले कोरोना भाइरसदेखि नेपालमा धनी र गरिबबीचको खाडलसम्मका कुरा गरेका छन् । यसैबीच आँचलले आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा स्टाटस लेख्दै उक्त खबरको खण्डन गरेकी छिन् । फेसबुकमा उनले लेखेकी छन्— ‘हरेक युवतीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो विवाहको सपना बुन्छन् । त्यस्तै सपना बुन्ने युवतीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन्, जसले आफ्नो सपनाको विषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’ आँचल र उदिपले करिब एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् ।

कलिउड

पलको किन दुख्यो चित्त ?

- साप्ताहिक संवाददाता

अभिनेत्री आँचल शर्मा वैवाहिक जीवनमा बाँधिए लगत्तै उनको अनस्क्रिन जोडी पल शाहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा रोचक काम गरेका छन् । इन्स्टाग्राममा पललाई झन्डै डेढ लाख जनाले पछ्याएका छन् भने उनले जम्मा सात जनालाई मात्र पछ्याएका छन् । अघिल्लो वर्षसम्म उनले पछ्याउनेहरूको संख्या १० थियो, जसमा अभिनेत्री आँचल शर्मा पनि थिइन् । आँचलको विवाहका मिति निश्चित भएपछि पलले आँचललाई अनफलो गरिदिए । अरू त ठीकै हो, पलले आँचललाई नै अनफलो गर्दा चलचित्र क्षेत्रमा त्यसको चर्चा चल्न थालेको छ । विगतमा उनीहरू प्रेमसम्बन्धमा थिए भन्ने चर्चासमेत चलेको थियो, पछि ब्रेकअपको कुरा पनि बाहिरियो । यसैबीच, आँचलको विवाह पार्टीमा पल शाहलाई अधिकांशले खोजिरहेका थिए, तर उनी पार्टीमा उपस्थित भएनन् । पार्टीकै छेको पारेर पल शाह अभिनेत्री पूजा शर्मासहितको समूहसँग मुक्तिनाथ दर्शनका लागि निस्किए । आँचलको विवाहको भोलिपल्ट शुक्रबार काठमाडौं छाडेका पल र पूजाको समूह विवाह भोज (शनिबार) को भोलिपल्टमात्र काठमाडौं फर्किए । काठमाडौंमै रहेर आँचलको विवाह भोजमा उपस्थित नहुँदा राम्रो सन्देश नजाने भन्दै पल काठमाडौंबाट बाहिरिएको अनुमान गर्न खासै गाह्रो पर्दैन ।

कलिउड

मनिताको अर्को उपलब्धि

- साप्ताहिक संवाददाता

मिस नेपाल युनिभर्स–२०१८ मनिता देवकोटालाई विश्वकै सबैभन्दा सुन्दर महिलाको सूचीमा समावेश गरिएको खबर भारतीय सञ्चारमाध्यम जीन्यूजले जनाएको छ । उक्त अनलाइनले मनिताको सुन्दरताको प्रशंसा गर्दै उनले हालसम्म हासिल गरेका उपलब्धिका साथै सुन्दर तस्बिरहरूसमेत प्रकाशित गरेको छ । जीन्यूजले मनितालाई नेपाली तथा अमेरिकी मोडल भनेको छ । अनलाइनले मनितालाई विश्वकै सबैभन्दा सुन्दर महिलाको सूचीमा समावेश गरिएको दाबी गरेको छ । मनिताका बारेमा अनलाइनले लेखेको छ— ‘मनिता अति नै सुन्दर छिन् । सामाजिक सञ्जालमा उनका तस्बिरहरूलाई निकै मन पराइन्छ । मिस नेपाल युनिभर्स–२०१८ को उपाधि जितेपछि उनको सफलताको शिखर चुलिएको हो । मनिताले मिस युनिभर्समा पनि सहभागिता जनाएकी छिन् र उत्कृष्ट १० मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएकी थिइन् । मनितालाई सन् २०१८ मा मिस युनिभस नेसनल गिफ्ट अक्सनको पहिलो पुरस्कार बैंककमा प्रदान गरिएको थियो । उनले आफैंले कमाएर अध्ययन गरेकी हुन् । त्यसका लागि उनी दुईवटा जागिर खान्थिन् । मनिता थुप्रै संस्थासँग आबद्ध पनि छिन् । मनिता वुमेन हेल्थ एड्भोकेट पनि हुन् । मनिता वुमेन प्रोटेस्ट मार्चमा पनि सहभागी भइसकसेकी छन् । मनिताले अल्पमतमा परेका व्यक्तिका मुद्दाहरूको समर्थन गर्नका लागि उक्त मार्चमा जोडिएकी थिइन् । यतिबेला मनिता अमेरिकामा बसोबास गरिरहेकी छिन् ।’ जीन्यूजमा प्रकाशित समाचारलाई लिएर साप्ताहिकले हाल नेपालमै रहेकी मनितासँग प्रतिक्रिया लिएको छ । त्यसक्रममा मनिताले जीन्यूजमा प्रकाशित सामग्रीलाई ‘राम्रो समाचार’ भएको प्रतिक्रिया दिइन् । उनले भनिन्– ‘मेरो बारेमा प्रशंसा गरेर लेखिएको रहेछ, यसमा मलाई केही पनि भन्नु छैन ।’

कलिउड

प्रियंका पनि दुलही बन्दै

- साप्ताहिक संवाददाता

चलचित्र क्षेत्रमा अहिले विवाहको लहर चलेको छ । ऋचा शर्मा, प्रियंका कार्की, आँचल शर्मा लगायत कलाकारहरूको विवाहको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्रीको पनि विवाहको लगन जुरेको छ । चलचित्र ‘क्याप्टेन’ बाट अभिनय क्षेत्रमा पदार्पण गर्ने अभिनेत्री तथा मोडल प्रियंका एमभीले विवाह गर्ने घोषणा गरेकी छिन् । गत साता नै प्रियंकाले आफ्नो प्रेमी सफल अधिकारीसँग औंठी साटासाट गरिसकेकी छिन् । उनीहरूको विवाहको मिति भने अर्को वर्षको मंसिरलाई निश्चित भएको बताइन्छ । प्रियंकाका हुनेवाला श्रीमान् पेसाले इन्जिनियर हुन् । प्रियंकाले गत भ्यालेन्टाइन डेको अवसर पारेर सफलसँगको प्रेमसम्बन्ध इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । प्रियंकाले क्याप्टेनपछि
अन्य कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् ।

Page 13
बलिउड

पर्दामा सैफ–साराको प्रतीक्षा

- साप्ताहिक संवाददाता

हालै अभिनेत्री सारा अली खान बाबु सैफ अली खानको फिल्म ‘लभ आजकल’को रिमेकमार्फत प्रमुख भूमिकामा देखिएकी थिइन् । फिल्ममा गरेको अभिनयका कारण राम्रै प्रशंसासमेत बटुलिन् । उनका धेरै प्रशंसक त्यतिबेला उनलाई पिता सैफसँग एकसाथ पर्दामा देख्न चाहेको प्रतिक्रिया दिए । हाल यही विषयलाई लिएर हिन्दुस्तान टाइम्सले सैफलाई सोधेको प्रश्नमा उनले छोरीसँग आफू फिल्म खेल्न तयार रहेको प्रतिक्रिया दिए । तर, यसका लागि उनले केही सर्त राखे । भने, ‘म सारासँग फिल्म खेल्न इच्छुक छु तर स्क्रिप्ट एकदमै स्पेसल हुनुपर्छ । मलाई लाग्छ, हामी दुवै नौटंकीलाई नजरअन्दाज गर्न रुचाउँछौं । त्यसैले यदि सही डिरेक्टर र स्क्रिप्ट भयो भने फिल्म राम्रो बन्न सक्छ ।’ छोरीमात्रै होइन, भविष्यमा आमा र पत्नीसँग पनि आफू फिल्म खेल्न इच्छुक रहेको सैफको प्रतिक्रिया छ । तर, अहिलेलाई दर्शकमाझ सैफ–साराकै प्रतीक्षा छ ।’

बलिउड

कैटरिनाको जिम विकल्प

- साप्ताहिक संवाददाता

बलिउडमा कोरोना भाइरसको असर दिन–प्रतिदिन बढ्दै गइरहेको छ । फिल्मको सुटिङदेखि बक्सअफिसमात्रै होइन, कलाकारको दैनिक जीवनमा पनि यसले असर गरिरहेको छ । कोरोनाको जोखिमका कारण कलाकारहरू नियमित जिमखाना जान सकिरहेका छैनन् । त्यसैले यसको विकल्प घरलाई नै बनाउन थालेका छन् । बलिउड अभिनेत्री कैटरिना कैफले आफ्नै घरको छतलाई जिमको विकल्प बनाएको खबर अहिले चर्चामा छ । उनले छतमै वर्कआउट गरिरहेको भिडियो अहिले सोसियल मिडियामा भाइरल भइरहेको छ । सोसियल मिडियामा वर्कआउट गरेको भिडियो सेयर गर्दै उनले लेखेकी छिन्, ‘घरमै वर्कआउट...जिम जान सकिनँ, त्यसैले यो घरमै गर्न सकिने वर्कआउट सेयर गरिरहेकी छु । सुरक्षित रहनुस् र सकेसम्म सक्रिय पनि रहनुस् ।’ उनले घरमै बसेर पनि विभिन्न तरिकाको व्यायाम गर्न सकिने बताएकी छिन् । भिडियोलाई करिब ३ लाख दर्शकले हेरिसकेका छन् । हाल कैटरिना अक्षय कुमारका साथ नयाँ फिल्म ‘सूर्यवंशी’मा देखिँदैछिन् । कोरोनाकै कारण यो फिल्मको रिलिज मिति पनि स्थगित भइसकेको छ ।

बलिउड

अर्जुनको ‘टाइम पास’ फर्मुला

- साप्ताहिक संवाददाता

कोरोना भाइरसका कारण फिल्मको सुटिङ स्थगित भएपछि अहिले अधिकांश बलिउडका कलाकार घरमै बसेर दिन कटाइरहेका छन् । दिन कटाउने सबैका आ–आफ्नै शैली छन् । अभिनेता अर्जुन कपुरका भने फिल्म र भिडियोहरू ‘टाइम पास फर्मुला’ भएको छ । हालै अर्जुनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एउटा स्टोरी सेयर गरे जहाँ उनी आफ्नै घरमा ब्ल्यू डीभीडीको क्याबिनेट देखाइरहेका छन् । उनले लेखेका छन्, ‘यो ब्ल्यू रे क्याबिनेट आगामी दुई हप्तासम्म मेरो लाइफ सेवर बन्नेवाला छ ।’ पृष्ठभूमिमा देखिने सीडीको र्‍याक देखेर उनी अहिले आफ्नो समय घरमै फिल्म र भिडियो हेरेर बिताइरहेका छन् भन्ने अनुमान लगाउन सकिन्छ । अर्जुन र परिणिति चोपडाको फिल्म ‘संदीप और पिंकी फरार’ यही २० मार्चामा रिलिज हुने तयारीमा थियो । फिल्मको प्रमोसन पनि सुरु भइसकेको थियो । तर, २१ मार्चसम्म कोरोनाका कारण देशका धेरैजसो सिनेमा बन्द हुने भएपछि यो फिल्मको रिलिज डेट सारिएको छ ।

 

बलिउड

उत्साहित तारा

- साप्ताहिक संवाददाता

‘स्टुडेन्ट अफ दि इयर–२’मार्फत बलिउडमा करिअर सुरु गरेकी अभिनेत्री तारा सुतारिया हालै नयाँ फिल्म ‘एक भिलेन–२’मा अनुबन्धित भएकी छिन् । यो फिल्ममा उनी अभिनयका अतिरिक्त गीत पनि गाउन भएकी छिन् । उनको गायन क्षमता पनि राम्रो भएका कारण निर्देशकले उनलाई फिल्मको गीत गाउने अवसर समेत उपलब्ध गराएका छन् । र, यसलाई लिएर तारा निकै उत्साहित छिन् । एक भारतीय मिडियासँगको कुराकानीमा उनले छिन्, ‘मलाई लाग्छ, यो फिल्ममा मलाई गीत गाउने मौका मिलिरहेको छ, यो यस्तो अवसर हो जसलाई लिएर म निकै आशावादी छु ।’ ताराले ‘बम्बई फेसन विक–२०२०’को दौरान यो विषय मिडियालाई बताएकी थिइन् । ‘एक भिलेन–२’मा तारा आदित्य राय कपुरको अपोजिटमा देखिँदैछिन् । खबरअनुसार उनी यो फिल्ममा सिंगरकै भूमिकामा देखिँदैछिन् । ११ मार्चबाट सुरु भएको यो फिल्मको सुटिङ अहिले कोरोना भाइरसकै कारण रोकिएको अवस्थामा छ ।

Page 14
हलिउड

हलिउड दम्पतीको उदारता

- साप्ताहिक संवाददाता

हलिउड चलचित्र ‘डेडपुल’ को अभिनेता रेयान रेनोल्ड्स तथा उनकी श्रीमती ब्लेक लाइवलीले कोरोना भाइरस पीडितहरूको सहयोगका लागि आफ्नो हात अगाडि बढाएका छन् । यी सेलिब्रेटी जोडीले दुई हंगर रिलीफ अर्गनाइजेसनलाई एक मिलियन डलर (करिब १२ करोड रुपैयाँ) हस्तान्तरण गरेका छन् । अभिनेता रेयानले ट्विटरमार्फत उक्त कुराको जानकारी दिँदै सबैलाई आफ्नो स्वास्थको चिन्ता गर्न आग्रह समेत गरेका छन् । उनले लेखेका छन्— ‘हामी सबैलाई थाहा छ, कोरोना भाइरस कति नराम्रो छ । कोभिड–१९ ले वयोवृद्ध तथा कम आम्दानी भएका परिवारहरूलाई कति गहिरो प्रभाव पारेको छ । ब्लेक तथा मैले एक मिलियन डलर फिडिङ अमेरिका तथा फुड बैंक क्यानाडालाई डोनेट गरिरहेका छौं । यदि तपाईं पनि सहयोग गर्न सक्नु हुन्छ गर्नुहोस्, किनभने यी संस्थाहरूलाई सहयोगको आवश्यकता छ ।’ ट्विटमार्फत नै उनले मानिसहरूलाई स्वास्थको राम्रो हेरचाह गर्न तथा सचेत हुन समेत आग्रह गरेका छन् । ब्लेक तथा रेयानका अतिरिक्त फिडिङ संस्थाका लागि जस्टिन टिम्बरलेक, नटाली पोर्टम्यान, बेन एफ्लेक, गिगी हदिद–बेला हदिद आदिले पनि सामाजिक सञ्चालमार्फत सहयोगका लागि अपिल गरिसकेका छन् ।

हलिउड

कस–कसलाई कोरोना ?

- साप्ताहिक संवाददाता

हलिउडका सेलिब्रेटीहरूसमेत कोरोना भाइरसको चपेटामा आइरहेका छन् । केही दिनअघि अभिनेता टम ह्याङ्स तथा रीटा विल्सन कोरोना संक्रमित भएको खबर सार्वजनिक भएको थियो । मंगलबार उनीहरू स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् । यसबाहेक लोकप्रिय टेलिभिजन कार्यक्रम ‘गेम अफ थ्रोन्स’ का अभिनेता क्रिस्टोफर हिब्जुलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ भने अभिनेता इदरिस अल्बाको पनि कोरोना टेस्ट पोजिटिभ आएको समाचार सार्वजनिक भएको छ । क्रिस्टोफरले भने इन्स्टाग्राममार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । अभिनेता इदरिस अलबाले एउटा भिडियो सन्देशमार्फत आफूलाई कोरोना भाइरसले संक्रमण गरेको जानकारी गराएका हुन् । त्यसो त जेम्स बोन्ड अभिनेत्री ओल्गा कुरिलेनमा पनि कोरोना टेस्ट पोजेटिभ आएको समाचार सार्वजनिक भइसकेको छ । यतिबेला उनीहरू आइसोलेसनमा रहेको बताइन्छ । अभिनेत्री ओल्गाले एउटा तस्बिरसहितको सन्देशमा भनेकी छिन्— ‘म पछिल्लो एक सातादेखि बिरामी छु । जब मैले डाक्टरसँग परीक्षण गराएँ, मेरो कोरोना भाइरस पोजेटिभ भएको रिपोर्ट आयो । त्यसैले यतिबेला म घरभित्र थुनिएकी छु । मलाई मुख्य लक्षण ज्वरो तथा थकान छ, जसका कारण मैले आफू यो भाइरसबाट संक्रमित भएको अनुमान गरेकी थिएँ । स्वास्थ्य परीक्षणबाट उक्त कुरा पुष्टि भइसकेको छ ।’

हलिउड

एमिलियाको डेटिङ धारणा

- साप्ताहिक संवाददाता

अभिनेत्री एमिलिया क्लार्कले डेटिङका बारेमा एउटा रमाइलो कुरा सार्वजनिक गरेकी छिन् । एउटा अन्तर्वार्ताका क्रममा एमिलियाले अभिनेताहरूसँग डेटिङ गर्ने रुचि नभएको उल्लेख गरेकी हुन् । उनले अभिनेताहरूसँगको अफेयर लामो समयसम्म चल्न नसक्ने धारणा व्यक्त गरेकी हुन् । केही समयअघि मात्र एमिलियाको चाली म्याकडोयलसँगको प्रेम सम्बन्धको समाचार सार्वजनिक भएको थियो । ‘म अहिले सिंगल छु,’ उनले भनेकी छिन्— ‘हलिउडमा डेटिङ गर्नु रुचिपूर्ण हुन्छ, मैले पनि विगतमा अभिनेताहरूसँग डेट गरेकी थिएँ, तर अहिले छैन ।’ भविष्यमा कुनै अभिनेतासँग नाम जोडिने सम्भावनाका बारेमा उनले भनेकी छिन्— ‘त्यस्तो नहोला भन्न सकिन्न, तर मलाई के लाग्छ भने अभिनेताहरूसँगको प्रेम सम्बन्ध दिगो हुँदैन ।’ यसैबीच फिमेल फर्स्ट वेबसाइटले अभिनेत्री एमिलियाले कम उमेरमै दुई पटक मस्तिष्कको शल्यक्रिया गरिसकेको उल्लेख गरेको छ । यद्यपि, उनले उक्त कुरालाई गोप्यै नै राख्न चाहिन् । उनले कुनै पनि सेलिब्रेटीको दुःखद विगत सार्वजनिक नहोस् भन्ने चाहेकाले उक्त कुरा सार्वजनिक गरेको बताएकी छिन् । ‘आफूलाई कसैले रोगी नसम्झियोस् र दयाको पात्र नबनाओस् भन्ने मेरो चाहना हो, उनले भनेकी छिन् । यी अभिनेत्रीलाई पछिल्लो पटक चलचित्र ‘लास्ट क्रिमिनल’ मा देखिएको थियो ।

हलिउड

गायक बन्दै भिन डिजेल

- साप्ताहिक संवाददाता

हलिउडका एक्सन स्टार भिन डिजेल अब संगीतकर्मीका रूपमा दर्शकमाझ आउन लागेका छन् । अमेरिकाको द लेट लेट शो विद जेम्स कोर्डनमा प्रस्तुत भएका भिनले यतिबेला उनी संगीतको प्रोजेक्टमा काम गरिरहेको खुलासा गरेका हुन् । त्यसो त सन् २०१७ मा उनले बिलबोर्ड ल्याटिन म्युजिक एवार्ड्समा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् । उक्त कार्यक्रममा आफ्नो सांगीतिक करियरका बारेमा जानकारी दिँदै भिनले भनेका छन्— ‘मेरा छोराछोरीलाई समेत मैले गीत गाएको मन परेको छ ।’ त्यसो त उनले एल्बम अथवा गीतका बारेमा कुनै पनि जानकारी दिएका छैनन् । ‘म अहिले संगीतमा काम गरिरहेको छु, भिनले भनेका छन्— ‘चाँडै नै मेरो सांगीतिक गतिविधिका बारेमा जानकारी पाउनु हुनेछ ।’ हालैमात्र भिनको एक्सनप्रधान चलचित्र ‘ब्लडसट’ सार्वजनिक भएको छ । उक्त चलचित्रमा इजा गोन्जालेज, सेम ह्युगन आदि कलाकारले पनि अभिनय गरेका छन् । उक्त चलचित्रलाई डेव विल्सनले निर्देशन गरेका हुन् ।

Page 15
संगीत

‘सिनेमा खेल्ने सपना पूरा गर्दैछु’

- साप्ताहिक संवाददाता

गायक प्रकाश सपूतले चलचित्रमा अभिनय गर्ने भएका छन् । अहिले छायांकन भइरहेको ‘परदेशी–२’ बाट उनले चलचित्रमा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेका सपूतसँग उनको कलायात्राबारे साप्ताहिकका लागि राजाराम पौडेलले गरेको कुराकानी :

 

कसरी गीत/संगीतबाट एक्कासि चलचित्र क्षेत्रतिर मोडिनुभयो ?
गीत/संगीतलाई छाडेर सिनेमातिर लागेको होइन । मेरो गायनयात्रा पनि जारी नै छ । यद्यपि, सिनेमामा अभिनय गर्ने बाल्यकालदेखिकै चाहना पूरा गर्दैछु । सिनेमाप्रति पहिल्यैदेखि आकर्षण थियो । सानो छँदा अत्यधिक सिनेमा हेर्थें । सिडी किनेर गाउँका सुबेदारको घरमा भएको डेकमा हालेर टिभीमा फिल्म हेरिन्थ्यो । बजार गएका बेला एकैचोटी थुप्रै फिल्मका सिडी ल्याउने गरेको थियो । र, पालैपालो हेर्ने गरेका थियौं । त्यतिबेलैदेखि मलाई चलचित्रमा अभिनय गर्ने रहर पलाएको हो । अहिले त्यो रहर पूरा हुँदैछ ।

पहिलो पटक हलमा गएर चलचित्र हेरेको अनुभव ?
मैले पहिलोचोटि हलमा गएर हेरेको चलचित्र ‘मायाको जाल’ हो । त्यही दिन अर्को पनि एउटा चलचित्र हेरेको थिएँ, नाम बिर्सिएँ । एलएलसीको परीक्षा चलिरहेको थियो । त्यही बेला शनिबार बाग्लुङ बजार पुगेर साथी सुरेश र मैले पूजा हलमा गएर फिल्म हेरेका थियौं । फिल्म हेरेर फर्कंदा रात परेको थियो । त्यसपछि फिल्मको हिरो बन्ने चाह झन् बढ्यो ।

‘परदेशी–२’ मा कसरी इन्ट्री हुनुभयो ?
मैले पहिल्यै नारायण रायमाझीसँग फिल्ममा अभिनय गर्न रहर भएको कुरा बताएको थिएँ । एक दिन उहाँले चलचित्रमा अभिनय गर्ने प्रस्ताव राख्नुभयो । रमेश बिजीले लेख्नुभएको फिल्म ‘परदेशी–२’ उहाँले नै निर्देशन गर्ने कुरा भइसकेको रहेछ । पछि उहाँले फिल्मको स्क्रिप्ट नै ‘मलाई सुहाउँदो लेखेको’ भन्नुभयो । मैले अस्वीकार गर्ने कुरै भएन ।

अहिले चलचित्रमा अभिनय गरिरहँदा कस्तो लागेको छ ?
एकदम ‘इन्जोय’ गरिरहेको छु । बाल्यकालदेखिको सपना पूरा हुने भएपछि खुसी नहुने कुरै भएन । व्यावसायिक रूपमा गीत/संगीतबाट राम्रै भइराखेको थियो । सपना पूरा गर्ने अर्थमा चलचित्रमा रमाइरहेको छु । अहिले सकेसम्म राम्रो अभिनय गर्नेतिर ध्यान केन्द्रित गरेको छु ।

चलचत्रिमा लागेर गीत/संगीतबाट टाढिने त होइन ?
त्यो सम्भवै छैन । गायनयात्रालाई पनि अघि बढाउँछु नै, तर यो चलचित्रको काम सकिएपछि ।

चलचित्रमा केकी अधिकारीसँग काम गर्दै हुनुहन्छ । कस्तो लागेको छ ?
केकीजीसँग काम गर्दा गर्व अनुभूति भएको छ । मैले जीवनमा पहिलोचोटि प्रत्यक्ष देखेकी नायिका पनि केकी नै हुनुहुन्छ । आफूलाई मन पर्ने र स्थापित नायिकासँग काम गर्न पाउँदा निकै खुसी छु । उहाँ निकै मिलनसार हुनुहुँदो रहेछ । अभिनयका लागि उहाँको सहयोग पनि पाइरहेको छु ।

अभिनय सिक्नुपर्ने रहेछ भन्ने लागेको छैन ?
मैले अभिनयबारे ठूलो कुरा गर्न मिल्दैन । तर, यो ठ्याक्कै सिकेर सिकिने कुरा हो जस्तो लाग्दैन । अभिनय भनेको फिलिङ्सलाई व्यक्त गर्ने कला हो । केही प्राविधिक पाटोबारे सिक्न–बुझ्न पर्ने रहेछ । विगतमा म्युजिक भिडियोमा पनि काम गरेकाले सजिलै भएको छ । तैपनि सिकेकै जस्तो त नसिकेको के हुन्थ्यो ?

‘परदेशी–२’ मा तपाईंको कस्तो खालको भूमिका छ ?
म जस्तो छु, त्यस्तै खालको भूमिका दिनुभएको छ । सबै कुरा नखोलौं, तर मलाई दर्शकले सम्झिरहने क्यारेक्टर दिएजस्तो लाग्छ ।

संगीत

८४ औं वर्षोत्सव पनि संगीतमै

- विवश वस्ती

उमेरले नेटो काट्दै गएपछि हरेक मानिसमा सिर्जनात्मक कर्मप्रतिको लगाव घट्दै जान्छ । तर, जगतमर्दन थापाको सांगीतिक जीवन–यात्रामा भने यो नियम अझैसम्म लागू हुन सकेको छैन । माघको अन्तिम साता मात्रै ८४ औं वसन्तको सँघार टेकेका वरिष्ठ गायक/गीति–सर्जक थापाले ८४ औं मनाउँदा परम्परागत पूजा–अर्चना, होमादिलाई पछ्याउन चाहेनन् । जीवनको यो पललाई स्मरणीय बनाउन उनले संगीतकै फेर समाते र आफूद्वारा स्वरबद्ध सात गीतको एलबम ल्याए— ‘म मक्किएको धुरी खाँबो ।’
२० को दशकमै गायन क्षेत्रमा पाइला टेकेका थापाले चार दशकजति सरकारी सेवामा व्यस्त रहनुपर्दा संगीत–कर्मलाई निरन्तरता दिन सकेनन् । तर, वर्षौंदेखि मन–मस्तिष्कमा गढेर बसेको संगीतबाट उनी कसरी टाढा रहन सक्थे र ? अवकाश लिइसकेपछि उनले संगीतलाई निरन्तर पछ्याउन थाले र त्यसकै प्रतिफलस्वरूप २०५८ सालयता उनका पाँचवटा गीति–एल्बम आइसकेका छन् । अब छैटौं एल्बमको तयारीमा जुटेका छन् उनी । पुनः संगीत कर्ममै फर्किएपछि सफलताको शिखर चढ्न उनले आफ्नो कलामा निखार ल्याउन अथक मेहनत गरे । शास्त्रीय संगीतको प्राज्ञिक/आभ्यासिक ज्ञान लिए । हरेक दिन स्वराभ्यासमा आफूलाई तल्लीन तुल्याए । अचेल पनि उनको हरेक बिहान स्वराभ्यासमै बित्ने गर्छ र नयाँ ऊर्जा र जाँगर मौजुद छन् उत्तिकै । ८४ वर्षमा देखिएको उनको जाँगर कुनै युवा सर्जकका भन्दा कम देखिँदैन ।
‘म मक्किएको धुरी खाँबो’ मा नेपाली संगीत क्षेत्रमा लामो समयदेखि भिजेका संगीत–साधकहरूका संगीत र गीत–लेखनमा अग्रदस्तामा रहेका स्रष्टाहरूका शब्दमा उनले कण्ठ खुलाएका छन् । संगीत–साधक भीम विरागले संगीत दिए पनि अहिलेसम्म कुनै प्रतिभाको स्वरमा नसजिएको ‘फेरि साथ मेरै’ देखि शक्ति बल्लभ, मनोहर सुनाम, रूपक शाही ‘समुदा’, कल्याण सिंहका संगीतमा उनले गाएका छन् ।
गीति–सर्जकहरू रत्नशमशेर थापा, सहदेव ढुंगाना, विवश बस्ती, हर्क साउद, वसन्त वित्यासी थापा र तुलाराम थापाका शब्दहरूमा उनले स्वर अर्पण गरेका छन् । युवा पुस्ताका गायक दीपेश किशोर भट्टराई र जुनु गौतमले केही गीतमा उनलाई सघाएका छन् । थापाको गायन–विशेषता केमा देखिन्छ भने गम्भीर, भावुक र रोमान्टिक शब्दहरूमा उनले उत्तिकै तन्मयतापूर्वक स्वर दिएका छन् । उनको स्वरमा अन्तरनिहित गहिराइ र फैलावटले संगीतका गम्भीर पारखीहरूलाई मुग्ध तुल्याउनेमा दुईमत देखिँदैन ।
चर्चित हुने चाहना कसलाई हुँदैन र ? क्षणिक नै सही तर चर्चित हुनैपर्ने हुट्हुटीमा बाँचिरहेका छन्, अधिकांश साधक । त्यही कारण हामीकहाँ चर्चित हुनकै निम्ति अर्थहीन र हल्काफुल्का शब्द–संगीतमा रमाउने सर्जकहरूको पंक्ति लम्बिँदै छ । तर, थापाले भने शब्द–चयनदेखि संगीत–रचनामा समेत अर्थहीनता र हलुकापनलाई कहिल्यै स्थान दिएनन् । गायनयात्राको सुरुवातदेखि नै उनले कुनै पनि गीत–संगीतमा माधुर्य र गीतात्मकताले धेरै अर्थ राख्छ भन्ने यथार्थलाई स्विकार्दै आए र अहिलेसम्म त्यही मान्यतामा अडिग छन् । उनको सांगीतिक–यात्रालाई सघाउन उनका सुपुत्र मोहित मर्दन थापाले टेको दिइरहेका छन् र अघिल्ला चार एल्बमका जस्तै पाँचौं गीति–एलबमको निर्माता पनि मोहित नै हुन् ।

Page 18
आवरण

निरीह निर्देशक, निरंकुश निर्माता

सिनेमा उत्पादन गर्ने व्यावसायिक र परिपूर्ण निर्माण कम्पनीहरूको अभावमा लगानीकर्ताहरू निर्देशकमाथि हावी भइरहेका छन्
- अनिल यादव
स्केच : कृष्णगोपाल श्रेष्ठ

एक महिनाअघि ‘सेल्फी किङ फिल्मको लफडा’ शीर्षकको भिडियो युट्युबमा सार्वजनिक भयो । फिल्म रिलिज भएको दुई दिनपछि सार्वजनिक भिडियोमा निर्माता दिनेश राउत, निर्देशक विशाल सापकोटा र अभिनेत्री केकी अधिकारीबीच भएको झगडा देखिन्छ । सोलुखुम्बुमा गीत सुटिङका क्रममा निर्देशक सापकोटाले भनिरहेका हुन्छन्— ‘भोलि गीत रिसुट गर्ने भए बोलाउनू ।’ त्यति नै बेला निर्माता दिनेशले ‘कति रिस उठाइरा तिम्ले’ भन्दै नजिक रहेको टेबलको थर्मस हातले लडाइदिन्छन् । त्यसपछि विशाल ‘म दिनेश राउत प्रोडक्सनको सुटिङ सेटमा टेक्दै टेक्दिनँ’ भन्दै सुटिङ सेटबाट बाहिरिन खोज्छन् । सुटिङ सेटमै रहेकी केकी रिसाउँदै बोल्छिन्, ‘डिरेक्टर पनि एकदमै अनप्रोफेसनल देखियो, प्रोड्युसर पनि एकदमै अनप्रोफेसनल, सरी टु से ।’
त्यसपछि दिनेश उल्टै केकीसँग झर्किन्छन्, ‘मैले चित्त बुझेन भन्न पाउँदिनँ त ?’ यस्तै हो भने चेक फिर्ता गर्दिने भन्दै केकी जवाफ फर्काउँछिन्, ‘एक्टरको अगाडि भन्न पाइँदैन । तपाईंहरू जे भन्नुहुन्छ, पछाडि गएर भन्नुस् । हाम्रो अगाडि नभन्नू क्या, हाम्रो मुड किन खराब गर्नुपर्‍यो ?’
त्यसपछि विशाल दिनेशलाई भन्छन्, ‘तपाईं यो फिल्मको डिरेक्टर होइन, म हो । यो फिल्ममा मलाई जे मन पर्छ, त्यही आउँछ पर्दामा । तपाईंलाई मन परेको आउँदैन । मैले तपाईंलाई उहिल्यै भनेको हो... ।’
‘मैले बुझें, तिमीले जे भन्यौ, त्यही आउनुपर्छ तर...’ दिनेश भन्दै हुन्छन्, विशालको जवाफ आइहाल्छ, ‘तपाईंले बनाइरा’ जस्तो फिल्म पनि खिच्न खोज्या होइन ।’ केकीलाई झन् रिस उठेको देखिन्छ । तर, सम्झाउन खोज्दा उल्टै निर्माताको थर्काइ भेट्छिन्, ‘तिमीसँगको कुरै छैन, तिमी किन सन्किरा’को फेरि ?’
५९ सेकेन्डको यो भिडियो बाहिरिएपछि अहिले फिल्म वृत्तमा धेरैलाई लागिरहेको छ— निर्माता राउत र निर्देशक सापकोटाबीच राम्रो सम्बन्ध छैन । फिल्म युनिटकै कसैले यो भिडियो ‘लिक’ गरिदिएपछि भिडियोलाई लिएर निर्माण युनिटको प्रतिक्रिया छ— ‘यो केकीलाई प्य्रांक गर्दाखेरिको भिडियो हो ।’
भिडियोमा देखिएको यो विवाद निर्माताले केकीको हेयरस्टाइल भएन भनेर टिप्पणी गरेपछि सुरु भएको थियो । ‘हामीले सल्लाह गरेरै प्य्रांक गरेका थियौं । भिडियो बाहिर आएपछि भने धेरैले यसलाई साँचो ठाने,’ निर्माता राउतको प्रतिक्रिया छ ।

‘रियल’ होस् या ‘प्य्रांक’ नै सही, युट्युबमा सार्वजनिक भएको यो भिडियोले नेपाली फिल्म क्षेत्रको एउटा पाटो खोतलिदिएको छ । नेपाली फिल्म क्षेत्रमा निर्माता र निर्देशकको द्वन्द्वको सानो दृष्टान्त हो यो ।
फिल्म निर्माणको सुरुवातमा ‘साथी’जस्तो सम्बन्धबाट अघि बढ्ने निर्माता–निर्देशकको यात्रा फिल्म रिलिज भइसक्दासम्म ‘दुस्मनी’मा परिणत भएका धेरै उदाहरण छन् ।

केस १
फिल्म निर्देशकको माध्यम हो । त्यसैले सामान्यतः निर्देशकबिनाको फिल्म कल्पना गरिन्न । तर, गत चैतमा यस्तो फिल्म रिलिज भयो, जसमा निर्देशकको नामै थिएन । फिल्मको नाम हो— ‘प्रेमलीला’ ।
फिल्मकी निर्माता तथा अभिनेत्री दीपशिखा खड्का स्वयम्ले निर्देशकसँगको विवाद फेसबुकमार्फत बाहिर ल्याइन् । विवादका कारण निर्देशक जनक पाण्डे सुटिङको बीचैबाटै हराएपछि निर्देशकको नामबिना नै रिलिज भयो ।
फिल्म बन्नुअघि जनक र दीपशिखा नजिकका साथी थिए । दीपशिखाको दाबीअनुसार दुवैले आधा–आधा पैसा हाल्ने सहमतिमा फिल्मको सुटिङ सुरु भएको थियो । तर, त्यसमा समस्या देखिएपछि दुईबीचको सम्बन्ध चिसो भयो ।
दीपशिखाले फेसबुकमै लेखिदिइन्, ‘मैले कलाकारको पेमेन्ट उहाँलाई पहिले नै दिइसकेकी थिएँ । तर, उहाँले कलाकारलाई दिनुभएनछ । काम गर्ने क्रममा कलाकारले आफ्नो पारिश्रमिक माग्न थाले । मैले कसैले पैसा पाएको छैन भन्ने गुनासो गरेका छन् त भनेर सोध्दा उहाँले हुन्छ म दिन्छु भन्नुभयो, तर कसैलाई दिनुभएन । त्यसपछि मैले पैसाको हिसाब मागेँ । पैसाको हिसाब माग्दा उहाँले निकाल्न सक्नुभएन । हिसाब निकाल्न नसकेपछि म एक्लै भएँ । उहाँ फिल्म छाडेर जानुभयो ।’
त्यसपछि दुई महिनासम्म फिल्मको सुटिङ अघि बढ्न सकेन । ‘लगानी भइसक्यो, अब के गर्ने ?’ दीपशिखामा दुविधा बढ्यो । बारम्बार उनले निर्देशक र उनकी श्रीमतीलाई फोन सम्पर्कको प्रयास गरिन् । म्यासेज पठाइन् । निर्देशक बस्ने फ्ल्याटमा पटक–पटक पुगिन् । तर, ढोकामा सधैं– ताल्चा लागेको हुन्थ्यो । पछि थाहा पाइन्, डेरा सरेका रहेछन् ।
त्यसपछि उनले निर्णय गरिन्, ‘अब आफैं भिडेर फिल्मको काम सकाउँछु ।’ उता यो विवाद निर्देशकमै सीमित रहेन, उनकी श्रीमतीसमेत तानिइन् । श्रीमान्लाई सम्पर्कमा नल्याए पुलिस केस गर्ने चेतावनीसहित दीपशिखाले निर्देशककी श्रीमतीलाई समेत म्यासेज पठाइन् ।
‘उहाँले हैसियतको कुरा गर्दै अनेक थरी लेखेर म्यासेज पठाउनुभयो । अनि अति भएपछि फेसबुकमा स्टाटस लेखेकी हुँ,’ दीपशिखाले त्यतिबेला फेसबुकमा सार्वजनिक रूपमै भनेकी थिइन्, ‘मेरो टिमको सबैलाई जानकारी छ, जनक पाण्डे आफूले पनि लगानी गर्ने सर्तमा फिल्म गरेको हो । सुटिङका क्रममा एक रुपैयाँ पनि निकाल्न नसकेर उल्टै मबाट लिएको पैसाको पनि हिसाब–किताब देखाउन नसकी भागेको हो । केही गरे पनि सम्पर्क हुन नसकेपछि अन्तिममा मेरी दिदीले १५ लाख दिनुभयो । त्यतिले पनि नपुगेपछि मैले आफ्नो सुन र गाडी बेचेर सुटिङ सकाएको हो ।’
दीपशिखाले जनक आफैं भागेको दाबी गरे पनि फिल्मसँग निकट स्रोतका अनुसार उनले निर्देशकलाई निकालेकी हुन् । फिल्मका कुनै पनि प्रचार सामग्रीमा निर्देशकको नाम अटाएन । अन्त्यमा, फाइजिल फिल्म्स प्रोडक्सनको नाम राखेर फिल्म रिलिज भयो ।

केस २
डेढ वर्षअघि अभिनेता शिव श्रेष्ठको एउटा ड्रिम प्रोजेक्ट घोषणा भयो— ‘एउटा यस्तो प्रेमकहानी’ । फिल्ममार्फत शिवका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले एकसाथ फिल्ममा डेब्यु गर्ने चर्चा भयो । करिब १ करोड रुपैयाँ खर्च भइसकेको बताइए पनि फिल्म पूरा बन्न सकेको छैन । यसको पछाडि पनि निर्माता–निर्देशकबीचको द्वन्द्व नै देखिन्छ ।
निर्देशक दिपेश सापकोटा भन्छन्, ‘फिल्मको ५० प्रतिशतभन्दा बढी काम भइसक्यो, तर त्यसपछि काम अघि बढ्न सकेको छैन । खोइ, किन हो थाहा छैन । सायद निर्माताहरू धेरै भएकाले मनमुटाव हुन सक्छ ।’
यसअघि फिल्म ‘मन्दिरा’ निर्देशन गरेका उनले यही फिल्मका कारण केही फिल्म छोडिसके । फिल्म बन्न सकेको छैन । यस अवधिमा पनि उनले फिल्मका लागि कम सम्झौता गर्नु परेन । करिश्माको छोरी र शिवको छोराको ‘इन्ट्री’ हुनुअघि नै यो फिल्मको करिब ८० प्रतिशत छायांकन सकिइसकेको थियो । सुरुमा यो फिल्मका लागि दुई रियल जोडी प्रियंका कार्की–आयुष्मान देशराज जोशी र वर्षा राउत–सन्जोग कोइराला प्रमुख भूमिकामा अनबुन्धित भएका थिए । उनीहरूबाटै निर्देशकले फिल्मको करिब ८० प्रतिशत सुटिङ सकाइसकेका थिए । केही क्लाइमेक्सको एक्सन सिन र गीत छायांकन गर्न बाँकी थियो ।
निर्माणको अन्तिम चरणमा पुगिसकेपछि निर्देशकलाई निर्मातामध्ये एक शिव श्रेष्ठको प्रस्ताव आयो, ‘अब यो फिल्मको रि–सुट गरौँ । फिल्ममार्फत मेरो छोरालाई डेब्यु गराउने हो ।’ निर्देशकले सजिलै मान्ने कुरा त थिएन, तर सबै निर्माताको ढिपीअगाडि उनको केही लागेन । त्यसपछि प्रेस मिटमार्फत फिल्ममा शक्ति र कविता पनि समावेश हुने घोषणा भयो । आधाजति छायांकन पनि भयो ।
त्यसपछि पनि फिल्म रोकियो, अहिलेसम्म ‘कोमा’मै छ । निर्देशक फिल्म सकाउन निर्मातासँग हारगुहार गरिरहेका छन् । फिल्मको मुख्य लगानीकर्ता यशोदा राई भन्छिन्, ‘त्यत्रो पैसा लगानी भइसकेको छ, फिल्म नबन्ने त कुरै हुँदैन । पक्का बन्छ ।’ यद्यपि फिल्म कहिले बन्छ, अझै पनि कसैसँग यसको प्रस्ट जवाफ छैन । तर, एउटा फिल्म निर्माणको प्रक्रियामा निर्माता कतिसम्म हावी हुन सक्छन्, यो फिल्म त्यसको बलियो जवाफ हो ।

निर्देशकहरू नै ठेक्कावाल छन्

नवीन सुब्बा
फिल्म निर्देशक/समीक्षक

फिल्म कसको मिडियम हो भन्ने थाहा नहुँदा निर्माता–निर्देशकबीच झगडा हुने हो । सिनेमा निर्देशकको माध्यम हो । तर, निर्माताले त्यो नबुझेपछि त्यहीबाट समस्याको थालनी हुने हो । निर्देशकले काम गर्ने क्रममा पाउनुपर्ने क्रिएटिभ फ्रिडम नपाएपछि समस्या हुन्छ ।
त्यस्तै निर्देशकले पनि उनीहरूलाई दिएको दायित्व नाघेर काम गर्‍यो भने द्वन्द्व निम्तिने हो । अहिले हामीकहाँ निर्देशकहरू सबै ठेक्कावाल भएको सुन्छु । प्रोडक्सनको पैसामा निर्देशक संलग्न हुने होइन । क्रिएटिभ काममा मात्रै संलग्न हुने हो ।

 

केस ३
‘लुट’ निर्माता माधव वाग्लेको ‘लालपुर्जा’ विवादबारे अहिलेसम्म फिल्मवृत्तमा चर्चा हुन्छ । कारण, फिल्म क्षेत्रमा शक्तिशाली मानिएका यी निर्मातालाई उनी अमेरिका गएका बेला फिल्मका निर्देशक निगम श्रेष्ठ निर्माताद्वय विक्रमसिंह थारु र टेकेन खड्काले प्रेस मिट नै गरेर फिल्मको निर्माताबाट हटाइएको घोषणा गरेका थिए ।
उनीहरूको आरोप थियो— सम्झौताअनुसार फिल्ममा लगानी नगरेको, गफमात्रै गर्दै हिँडेको । त्यसपछि वाग्ले फिल्मबाट बाहिरिए, आफूले लगानी गरेको रकम फिर्तासहित । पछि यही फिल्मको टिमले डिजिटल राइट्स लिएको कम्पनी हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङलाई उनको कार्यलयमै पुगेर हातपातसम्म गरे । केस प्रहरीसम्म पुगेपछि मात्रै मिल्यो ।

हिरोइनको विषयमा झगडा हुन्छ

राजकुमार राई
पूर्वअध्यक्ष, चलचित्र विकास बोर्ड

अधिकांश निर्माता यहाँ फिल्ममेकिङ पढेर भन्दा परेर आएका छन् । एउटा बजारमा के चलिरहेको छ त्योअनुसार प्राक्टिकल्ली यो गरौं भन्छ, अर्कातिर पढेर आएको निर्देशक सैद्धान्तिक हिसाबले जान खोज्छ, अनि विवाद हुन्छ । पुरानो निर्मातासँग सुरुदेखि नै एउटा ट्युनिङ मिल्ने टिम हुन्छ । तर, क्रिएसन गर्ने भनेको त डिरेक्टरले हो । उसले निर्माताले भनेअनुसारको प्राविधिक राख्न मान्दैन । त्यसपछि विवाद हुन्छ ।
हामीकहाँ अर्को विवाद हिरोइन कसलाई लिने भनेर हुन्छ । निर्माता एउटा नाम लिन्छ, निर्देशक मान्दैन । त्यसपछि झगडा हुन्छ । त्यस्तै यतिमा फिल्म सक्काइदिन्छु भनेर ठेक्का लिने निर्देशकहरू पनि छन् । तर, भनेअनुसार काम हुँदैन अनि विवाद सुरु हुन्छ ।

केस ४
अभिनेत्री रेखा थापा र निर्देशक श्याम भट्टराईबीचको विवाद नेपाली फिल्म क्षेत्रकै चर्चित मानिन्छ । दाजु–बहिनीजस्तो सम्बन्ध थियो यी दुईको । तर, जब ६ वर्षअघि महेन्द्रनगरमा फिल्म ‘हिम्मतवाली’को सुटिङ सेटबाटै निर्मातासमेत रहेकी रेखाले भट्टराईलाई निर्देशनको जिम्मेवारीबाट ‘आउट’ गरिन्, त्यसपछि उनीहरूको पारिवारिक सम्बन्ध दुस्मनीमा परिणत भयो । र, रेखा आफैंले फिल्मको निर्देशन गरिन् ।
त्यतिबेला निर्देशकको आरोप थियो– छायांकनस्थलमा रेखाले न्यूनतम सुविधा उपलब्ध गराइनन् । काम गर्ने वातावरणलाई लिएर टिप्पणी गर्दा रेखाले आफूलाई एक्कासि ‘तपाईं जानुस्’ भनेर घर पठाइदिएको उनको गुनासो थियो । रेखाले आफूलाई निर्माताले गर्नुपर्ने व्यवहार नगरेको, प्राविधिकहरूलाई राम्रो खाने–बस्ने व्यवस्था नमिलाएको आरोपसमेत उनले लगाएका थिए ।
रेखाले भने आरोपको खण्डन गर्दै सुटिङमा मन लगाएर काम नगरेको, फिल्मको अडिसन लिने बहानामा स्थानीय युवतीहरूलाई गलत नजरले हेरेको अनि राति सधैं रक्सी खाएर आएपछि आफूले सुटिङ स्थलबाटै दुई लात हानेर निकालेको प्रतिक्रिया दिएकी थिइन् ।
उनले प्रेस विज्ञप्ति नै जारी गरेर उनको निर्देशनको स्तरमाथि टिप्पणी गरेकी थिइन् । तत्कालीन चलचित्र निर्देशक समाजका सचिवसमेत रहेका भट्टराइले त्यसपछि रेखाविरुद्ध आफ्नै संस्थामा उजुरी गरेका थिए । त्यसपछि निर्देशक समाजले भट्टराईमाथि अन्याय भएको भन्दै सेन्सर बोर्डलाई फिल्मको सेन्सर रोकिदिन पत्र काटेको थियो ।
फिल्मको सेन्सर रोकिएपछि रेखाले श्यामलाई लगाएको आरोपको खण्डन गर्दै माफीको लिखित सम्झौता नै गरिन्, अनि मात्र फिल्म रिलिज भयो । अहिले भट्टराई अमेरिकामा छन् भने रेखा फिल्म निर्माण, निर्देशन र अभिनयमै सक्रिय छिन् ।

यी केही उदाहरणमात्रै हुन्, नेपालमा निर्माता–निर्देशकबीच भएका लफडाको सूची लामै छन् ।फिल्म निर्माता माधव वाग्ले भन्छन्, ‘निर्देशक र निर्माता सुरुमा साथीजस्तै हुन्छ । दुवै जना एकसाथ मिलर ठूलो सपना देख्छन् । त्यसमा पनि बढी सपना देखाउने काम निर्देशकले गर्छ । झन् नयाँ निर्माता भयो भने त आकाशको तारा नै टिपेर ल्याइदिन्छु सम्म भन्छ, तर पछि परिणाम त्यस्तो हुँदैन । सुटिङ स्पटमा पुगेपछि उसको चरित्रको रंग बदलिन्छ, अनि झगडा सुरु हुन्छ ।’
तर, यो द्वन्द्व सिर्जना हुनुमा फिल्म समीक्षक एवम् निर्देशक नवीन सुब्बा निर्देशकको मात्रै दोष देख्दैनन् । ‘निर्माताले सिनेमा निर्देशकको माध्यम हो भन्ने कुरा नबुझेपछि मुख्यतः यो समस्या सिर्जना हुने हो,’ उनी भन्छन्, ‘सिनेमालाई निर्देशकको माध्यन नठानेपछि त्यहाँ क्रिएटिभ फ्रिडमको अभाव हुन्छ अनि विवाद सुरु हुने हो । बढीजसो फिल्मको ज्ञान नलिई सिनेमामा लगानी गर्न आउनेहरूबाट यो समस्या सिर्जना भइरहेको छ ।’
त्यसो त निर्देशकले आफ्नो जिम्मेवारीको दायरा नाघ्दै गएको सुब्बाको टिप्पणी छ । ‘अहिले निर्देशकहरू सबै ठेक्कावाल भएको सुनिरहेको छु, यो ठीक होइन,’ उनले भने, ‘प्रोडक्सनको पैसामा निर्देशक संलग्न हुने होइन । निर्देशक क्रिएटिभ काममामात्रै संलग्न हुने हो । पैसातिर ध्यान दिन थालेपछि त पक्का झगडा हुन्छ ।’

नयाँमाथि पुराना हावी
८० प्रतिशत छायांकन भइसक्दा पनि ‘एउटा यस्तो प्रेमकहानी’का निर्देशक दिपेश सापकोटाले निर्माताको दबाबमा फिल्म रिसुट गर्न तयार हुनुपर्‍यो । सामान्यतः एउटा फिल्मको काम नसकी निर्देशकहरू नयाँ फिल्मको सुटमा लाग्दैनन् । त्यसैले उनले यो फिल्म निर्माण नगरी अर्को फिल्म सुरु गर्न सकिरहेका छैनन् ।
उनको गुनासो छ, ‘निर्माताहरू फिल्म नबनाउने पनि भन्दैनन्, अपुरो काम पूरा गर्नतिर पनि लाग्दैनन्, अर्को फिल्म गर्न पनि दिँदैनन्, म त पूरै अलमलमा परिसकेँ, करिअर नै चौपट हुने डर भइसक्यो ।’
अनेक दबाबका बाबजुद पनि निर्देशक सापकोटा किन निर्मातासँग सम्झौता गर्न तयार भए ?
जवाफ प्रस्ट छ, उनी नयाँ र संघर्षरत निर्देशक हुन् । निर्माता शिव श्रेष्ठ भने पुरानो र चर्चित नाम हो ।
‘निर्माता पुरानो, निर्देशक नयाँ छ भने त्यतिबेला यहाँ पेलिने भनेको निर्देशक हो, उसले निर्माताले जे–जे भने त्यही मान्नुपर्छ,’ चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघ दुवैको अध्यक्ष भइसकेका राजकुमार राई भन्छन्, ‘तर, निर्देशक स्थापित छ र निर्माता नयाँ छ भने त्यतिबेलाचाहिँ निर्देशक हावी हुने हो । नेपाली फिल्म क्षेत्रमा पुरानामाथि नयाँ हावी हुने प्रवृत्ति अब सामान्य भइसक्यो ।’

हामी निर्माताको प्रचारै हुँदैन

माधव वाग्ले, निर्माता

निर्देशक र निर्माता पहिले साथीजस्तो हुन्छन् । दुवै जना मिलेर धेरै सपना देख्छन् । बढी सपना देखाउने काम निर्देशकले गर्छ । अझ निर्माता नयाँ भयो भने त आकाशको तारा नै टिपेर ल्याइदिन्छु सम्म भन्छ । फिल्मका लागि ३ करोड खर्च हुँदैछ भने उसले १ करोडमा सकाइदिन्छु भन्छ । तर, जब २५ लाख लगानी भइसक्छ, त्यसपछि त्यो निर्मातालाई थाहा हुन्छ, अब ३ करोड सकिँदैछ । तर, २५ लाखको मायाले गर्दा ऊ ३ करोड हाल्न पनि तयार हुन्छ । र, यसरी ऊ डुब्छ ।
म आठवटा फिल्मको एक्लो मालिक हुँ । को निर्देशक कति पानीमा छ सबै थाहा छ । त्यत्रो पैसा हाल्ने निर्माताको कहीँ प्रचार हुँदैन । रिभ्यु लेख्दा फिल्म निर्देशकको खुब वाहवाही हुन्छ तर निर्माताको हुन्न । म निर्माता भएर काम गर्दा मिडियाले मेरो कामको मूल्यांकन गरेन, त्यसैले म अहिले आफैं निर्देशक बन्दैछु । हामीकहाँ कोचाहिँ डिरेक्टर पढेर आएको छ ? सबै हाम्रै चिज बिगारी–बिगारी डिरेक्टर बन्ने हो । त्यसैले मचाहिँ मेरो फिल्म गर्दा हावी हुन्छु । मैले कसैलाई पनि बाँकी राखेको छैन । मैले भनेको चिज भएन भने म मान्दिनँ । 

 

रचनात्मक मतभिन्नता
निर्माता–निर्देशकबीच हुने द्वन्द्वको अर्को प्रमुख कारण रचनात्मक मतभिन्नता पनि हो । निर्देशकले फिल्म फ्लोरमा जानुअघि नै आफ्नो मस्तिष्कबाट सिनेमालाई हेरिसकेको हुन्छ । तर, जब उसको अभिव्यक्तिमाथि निर्माताको नजर लाग्छ, त्यसपछि सुरु हुन्छ द्वन्द्व ।
‘सिनेमाको ड्राइभिङ सिटमा निर्देशक हुनुपर्ने हो । तर, निर्माता हावी भइदिनु हाम्रो तीतो वास्तविकता हो,’ तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेता राजेश हमालको अनुभव भन्छ, ‘यहाँ जो निर्माता फिल्मलाई कलाभन्दा पनि व्यापारका हिसाबले हेरेर लगानी गरेको भन्दा तेब्बर बढी आम्दानी गरेर जान्छु भन्ने सोचले आउँछ उसले निर्देशक चलाउन खोज्छ । बजारमा जुन स्वाद परीक्षणमा हिट भइसकेको हुन्छ, उसले आफ्नो फिल्ममा त्यहीअनुसारको सिन राख्न दबाब दिन्छ । धेरै सिरियस सिन भयो, यहाँ हँसाउने राखौं न, यहाँ रुवाउने राखौं न भनेपछि त्यसमै विवाद सुरु हुन्छ ।’
निर्देशकले बीचमै सुटिङ सेट छाड्नुका कारण पनि यही नै हुन् । लगातार ८ फिल्ममा निर्माता भएर काम गरेपछि अब माधव वाग्ले निर्देशक बन्ने तयारीमा छन् । उनले अनमोल केसीलाई प्रमुख भूमिकामा लिएर ‘पारस’ नामको फिल्म बनाउने खबर बाहिर आइसकेको छ ।
किन निर्देशक बन्नुपर्‍यो भन्ने प्रश्नमा उनको जवाफ छ, ‘निर्माता हुँदा कसैले भ्यालु दिएन । मिडियामा पनि मेरो कामको मूल्यांकन भएन । रिभ्यु लेख्दा होस् या जे गर्दा, खालि निर्देशककै नाम आयो ।’
‘लालपुर्जा’मा निर्देशक निगम श्रेष्ठसँग आर्थिक विवाद भएपछि निर्माताबाट हटेका उनी सुरुमा विपिन कार्की स्टारर ‘नाका’ फिल्ममा पनि निर्माता थिए । प्रि–प्रोडक्सनका क्रममा पूरै संलग्न थिए । तर, क्लाइमेक्स सिन र विपिनसँगको पारिश्रमिकमा कुरा नमिलेपछि फिल्मबाट बाहिरए ।
निर्देशकमाथि बढी नै हावी हुन खोज्ने निर्माताको सूचीमा उनको नाम आउने गर्छ । यस विषयमा जिज्ञासा राख्दा उनले त्यसलाई सहजै स्वीकार गरे । ‘हो, मचाहिँ हावी हुन्छु,’ उनले भने, ‘मैले कसैलाई पनि बाँकी राखेको छैन । मैले भनेको चिज भएन भने म मान्दिनँ । यहाँको निर्देशक कति पानीमा छ, मलाई सबै थाहा छ । कोचाहिँ पढेर आएको छ र यहाँ ? सबै हाम्रै पैसामा हाम्रै चिज बिगारी–बिगारी डिरेक्टर बन्ने होइन र ? त्यसैले म त हावी हुन्छु । प्रि–प्रोडक्सनमा त पूरै हावी हुन्छु, सुटिङमा चाहिँ स्वतन्त्र छाडेर ब्याकअपमा बस्छु ।’

खर्च बढेपछि विवाद

निश्चल बस्नेत, निर्देशक

कुनै पनि निर्मातालाई पैसा बढी खर्च भइदियो भने तनाव हुने हो । सुरुमा निर्माता–निर्देशकसँग बसेरै अनुमानित बजेट तयार गरेको हुन्छ । तर, त्यो बजेटभन्दा बढी खर्च हुन थालेपछि मनमुटाव सुरु हुने हो । कति केसमा कुनै सिनलाई लिएर सामग्रीहरूको माग अलि बढी हुन जान्छ । त्यसले पनि निर्माताको टाउको दुख्छ ।
यो द्वन्द्व भनेको निर्माताले के उद्देश्यले फिल्म बनाइरहेको छ भन्नेमा पनि निर्भर हुन्छ । राम्रो फिल्म बनाउने उद्देश्य हो कि व्यापारमात्रै भनेर हेरिएको हो, त्यसले अर्थ राख्छ । हामीकहाँ ‘क्रिएटिभ साइड’बाट त्यति धेरै द्वन्द्व हुँदैन । त्यतिखेर मात्रै हुन्छ जब पैसाको कुरा उठ्छ । हुन त जुनसुकै बिजनेसमा सोचेको भन्दा बढी खर्च भयो भने टाउको दुख्नु स्वाभाविक पनि हो ।
निर्देशकले पनि निर्माताको लगानी बालुवामा पानी हुँदैछ या सुरक्षित हुने अवस्था पनि छ, त्यो ख्यालचाहिँ गर्नुपर्छ । हामीकहाँ समस्या के छ भने निर्माताले फलानो डिरेक्टरसँग काम गर्दैछु भनेपछि जति पनि पैसा खर्च गर्न तयार हुन्छ, अनि निर्देशक जति पनि खर्च गराइदिन्छ ।

निर्माता चाहन्छ एउटा, निर्देशकले बनाइदिन्छ अर्कै

हेमराज बीसी, फिल्म निर्देशक

कति निर्माताहरू सुटिङको सेड्युल बढ्यो भने बुझ्दैनन् । एकोहोरो रिसाउँछन् । नचाहँदा–नचाहँदै सेड्युल बढिदिन्छ कहिलेकाहीँ । कतिपय ठाउमा निर्देशककै कमी–कमजोरीकै कारण पनि बढिरहेको हुन्छ । निर्माता–निर्देशकबीच हुने रचनात्मक मतभिन्नताका कारण पनि विवाद हुने हो । कहिलेकाहीँ निर्माताले एउटा कुरा बनाउन आएको हुन्छ तर निर्देशकले अरू नै केही बनाइदियो भने पनि द्वन्द्व हुन्छ ।

बजेट विवाद
अधिकांश निर्माता गुनासो गर्ने गर्छन्, ‘निर्देशकले मेरो फिल्मको बजेट बढाइदिए ।’ निर्देशक स्वयम् स्विकार्छन्, ‘नचाहँदा–नचाहँदै पनि यस्तो हुन्छ कहिलेकाहीँ ।’
आफूले काम गरेका अधिकांश सिनेमामा बजेट र सुटिङलाई लिएर निर्माता–निर्देशकको सम्बन्ध चिसिएको अभिनेत्री स्वस्तिमा खड्काले धेरैपल्ट देखेकी छिन् । ‘त्यो खासै ठूलो झगडा त होइन, तर निर्देशकले बजेट बढाइदियो, सुटिङको दिन बढाइदियो भन्ने निर्माताको गुनासोचाहिँ प्रायः सिनेमामा सुन्ने गर्छु,’ उनले भनिन् ।
यस्तो कसरी हुन्छ ? निर्माता वाग्ले उदाहरण दिन्छन्, ‘फिल्मका लागि ३ करोड खर्च हुँदैछ भने निर्देशकले १ करोडमा सकाइदिन्छु भन्छ । तर, जब २५ लाख लगानी भइसक्छ, त्यसपछि निर्मातालाई थाहा हुन्छ, अब ३ करोड खर्च हुँदैछ । २५ लाखको मायाले गर्दा ३ करोड हाल्न ऊ तयार हुन्छ । र, नचाहँदा–नचाहँदै डुब्छ ।’ उनका अनुसार पुरानो निर्देशकले जानी–जानी फसाउने र नयाँले थाहा नभएर फसाउँछन् ।
निर्देशक हेमराज बीसीका अनुसार उनका दुई फिल्म ‘ब्रेकअप’ र ‘घामड शेरे’को नचाहँदा–नचाहँदै बजेट सोचेभन्दा बढी भइदियो । ‘ब्रेकअप’ २ करोडभित्रमा सिध्याउने लक्ष्य थियो । तर, हलमा आइपुग्दासम्म फिल्मको बजेट २ करोड ५० लाखभन्दा बढी पुग्यो ।
त्यसपछि निर्माताहरूको टाउको नदुख्ने कुरै भएन । ‘तर, नचाहँदा–नचाहँदै बढिदिन्छ कहिलेकाहीँ,’ उनी भन्छन्, ‘स–साना कुराले गर्दा यस्तो हुन्छ । जस्तो, सुटिङ भइरहेका बेला कहिलेकाहीँ पानी परिदिन्छ, मौसमले धोका दिन्छ अनि सुटिङ रोकिन्छ । रोकिनेबित्तिकै सुटिङ लम्बिन्छ, खर्च बढ्छ । कहिलेकाहीँ प्रोडक्सनको साइडबाट व्यवस्थापनमा दूरदर्शी नहुँदा पनि सुटिङ रोकिन्छ ।’
‘ब्रेकअप’का बेला यस्ता अनेक समस्या उनले झेलेका थिए । जस्तो, पोखरामा हावाहुरीको सिक्वेन्स खिच्नु थियो । काठमाडौंमा लिएर गएका दुइटै फ्यानले काम गरेनन् । त्यसपछि पूरा पोखराभर फ्यानको खोजी भयो । पाइएन । समय खेर गयो अनि खर्च बढ्यो ।
‘खर्च कहाँनेर कसरी बजेट बढ्न सक्छ, त्यसमा निर्माताले पनि अध्ययन गरेर आउनुपर्छ भन्ने मलाई लाग्छ,’ निर्देशक बीसीको सुझाव छ ।
‘लुट–२’ का बेला निर्देशक निश्चल बस्नेत र निर्माता माधव वाग्लेबीच पनि सामान्य विवाद भएको थियो । विवादको कारण थियो— पानी बोक्ने ट्यांकर । निश्चल फाइटको सिन खिचिरहेका थिए । पानी पार्नुपर्ने सिन थियो । निश्चलले एउटा ब्याकअपसहित दुई ट्यांकर पानी ल्याउन भनेका थिए । तर, आयो एउटा मात्रै ।
‘यही कुरामा म माधव दाइसँग रिसाएको थिएँ, किनभने एउटा ट्यांकरले पुग्छ भन्ने ठान्नु उहाँको गल्ती थियो,’ उनले सुनाए । निश्चलको अनुभवमा पनि निर्माता–निर्देशकबीच द्वन्द्वको कारण पैसा हो । कारण, निर्देशक फिल्म बनाउने क्रममा सम्झौता गर्न चाहँदैन तर निर्माता सकेसम्म कम खर्चमा बजारले रुचाउने फिल्म बनोस् भन्ने चाहन्छ ।
‘कुनै पनि निर्मातालाई पैसा बढी खर्च भइदियो भने तनाव हुने हो,’ निश्चल भन्छन्, ‘निर्माता–निर्देशकले सँगै बसेर फिल्मको अनुमानित बजेट तयार गरेको हुन्छ । तर, त्यो बजेटभन्दा बढी खर्च हुन थालेपछि उनीहरूबीच मनमुटाव सुरु हुने हो । कति केसमा कुनै सिनलाई लिएर सोचेभन्दा बढी सामग्री चाहिन सक्छ, निर्माताले त्यो कुरा नबुझ्दा पनि समस्या हुन्छ । ’

हिरोइन छनोटमा विवाद
फिल्म क्षेत्रका पुराना निर्माता छविराज ओझाले एक समय अभिनेत्री रेखा थापाले नै आफ्नो फिल्मको हिरोइन बनाइरहे । जब उनको जिन्दगीमा शिल्पा पोखरेलको प्रवेश भयो, त्यसपछि लगातार उनका फिल्ममा उनैलाई हिरोइन बनाए । उनका फिल्मैपिच्छे निर्देशक परिवर्तन भए, तर हिरोइन उही रहे । कोही पनि निर्देशक उनीविरुद्ध जान सकेनन् । कारण, उनी पुराना निर्माता थिए ।
‘एकपल्ट मैले उहाँलाई हिरोइन सधैं एउटै भयो परिवर्तन गरौं भनेर धेरै जोड गरेको थिएँ, तर उहाँ मरिगए मान्नुभएन,’ नाम नखुलाउने सर्तमा उनीसँग काम गरेका एक निर्देशकको गुनासो थियो ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईका अनुसार कलाकार छनोटका क्रममा निर्देशकमाथि निर्माता हावी हुने प्रवृत्ति नेपाली फिल्मका लागि पुरानै हो । आफैं निर्माता रहेका उनले भने, ‘धेरैजसो विवाद हिरोइनलाई लिएर हुन्छ । हिरोइन को लिने भन्ने विषयमा धेरैको झगडा भएको छ । किनभने निर्माता एउटा नाम लिन्छ, निर्देशक मान्दैन ।’ फिल्ममा सिनेमाटोग्राफर, सम्पादक, लाइटम्यान, साउन्ड डिजाइनर आदि प्राविधिक टोलीमा निर्माताले सधैं आफ्नै समूहको मान्छे राख्न खोज्दा पनि निर्देशकसँग विवाद हुने राईको अनुभव छ ।
‘अधिकांश निर्माता यहाँ फिल्ममेकिङ पढेर भन्दा पनि परेर आएका छन्,’ उनी भन्छन्, ‘त्यसैले उनीहरू बढी प्राक्टिकल कुरा गर्छन्, बजारमा जे चलिरहेको छ त्यही दिनुपर्छ भन्छन्, तर पढेर आएको निर्देशक त्यो मान्दैन । ऊ सैद्धान्तिक हिसाबले जान खोज्छ । त्यसपछि सुरु हुन्छ निर्माता–निर्देशक लफडा ।’
बजारको धङधङीबाट निर्माता कतिसम्म निर्देशित हुन्छ, त्यो जान्न निर्देशक दिनेश राउतको एउटा उदाहरण काफी छ । फिल्म ‘प्रसाद’ रिलिजताका उनका निर्माता सुभाष थापाले फिल्म निर्माणलाई लिएर कहीँकतै उनीसँग हस्तक्षेप गरेनन् ।
तर, फिल्म प्रचारताका कुन गीत सुरुमा सार्वजनिक गर्ने भन्ने विषयमा भने विवाद उब्जियो । निर्माता थापाको तर्क आयो– बजारमा लोकगीत चलिरहेको छ, त्यसैले सुरुमा ‘वनकी चरी’ गीत फालौं । निर्देशक राउतको अडान थियो, ‘अहँ, त्यो हुँदैन । किनभने सुरुमा फिल्मको चरित्र बोल्ने गीत फाल्नुपर्छ । त्यसैले ‘लै लै, माया भन्दा ठूलो के नै छ र’ गीत फालौं ।’
त्यतिबेला बल्लतल्ल निर्मातालाई मनाएका राउतको निर्माता–निर्देशकबीच हुने द्वन्द्वबारे धारणा छ, ‘रचनात्मक कुरामा छलफल हुनु त ठीकै हो तर यहाँ निर्माताले निर्देशकलाई बढीजसो बजारमा के बिक्छ त्यही राख्नुपर्छ भन्ने दबाब दिन्छ । निर्देशकले आफ्नो अभिव्यक्ति रक्षाका खातिर हुँदैन भन्यो भने द्वन्द्व भइहाल्छ ।’
त्यसैले त निर्देशक–निर्माताको द्वन्द्वलाई लिएर फिल्म निर्देशक मनोज पण्डित भन्ने गर्छन्, ‘यो अभिव्यक्ति र नाफाबीच हुने लडाइँ हो । निर्देशकलाई अभिव्यक्तिको चिन्ता हुन्छ, निर्मातालाई लगानी र नाफाको । हामी सर्जकको विडम्बना के छ भने हाम्रो सिर्जना पैसाका अगाडि झुक्नुपरिरहेको छ ।’

Page 21
आवरण

निर्मातालाई मुर्गा बनाउँछन् निर्देशकहरू

- कृष्ण भट्टराई

उदाहरण १
एक स्थापित अभिनेत्री आफू अभिनय गर्ने चलचित्रका लागि निर्देशकको इसारामा लगानीकर्ताको खोजीमा जुटिन् । त्यसै क्रममा भारतमा बसोबास गर्ने नेपालीभाषी फेला पारिन् र लगानीका लागि तयार पारिन् । भारतमै चलचित्रको छायांकन गरियो । प्रदर्शनमा पनि आयो तर व्यावसायिक असफलता बेहोर्‍यो । उनले लगानी गर्दा कुनै कागजात पनि बनाएका थिएनन् । त्यसैले पैसा फिर्ता पाउने त कुरै भएन । कुनै कानुनी आधार नभएपछि उनी सधैंका लागि यो क्षेत्रबाटै टाढिनुको विकल्प थिएन ।

उदाहरण २
एक निर्माताले छोरीलाई एमबीबीएस पढाउन जम्मा गरेको रकम चलचित्रमा लगानी गरे । लाखौं कमाउने आशामा उनले एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरिसकेकी छोरीलाई नर्सिङ भर्ना गरिदिए । फिल्मी पार्टी र ग्ल्यामर भेटघाटमा लोभिँदै निर्देशकको आश्वासनमा उनले गरेको लगानी डुब्यो । न लगानी फिर्ता भयो, न छोरीले एमबीबीएस पढ्न पाइन् । कपनमा निर्माणाधीन घरको तला थप्ने योजना पनि रोकियो । उनकी श्रीमती निकै चिन्तित छिन् । यसै कारण उनी अहिले चलचित्र क्षेत्रबाट टाढिएकी छिन् ।

उदाहरण ३
एक निर्माताले चार वर्षअघि ठूलै धनराशि खर्चिएर चलचित्र निर्माण गरे, जुन आजसम्म प्रदर्शन हुन सकेको छैन । प्रदर्शन गर्न अझै १५ लाख रुपैयाँ लाग्ने रहेछ । ‘चलचित्र क्षेत्रका केही अग्रजलाई देखाउँदा उहाँहरूले थप ५ लाख घाटा नखानु भन्ने सुझाव दिनुभएको छ,’ १० लाखको व्यवसाय गर्न पनि गार्‍हो हुने आँकलन सुनेका उनी भन्छन्, ‘चलचित्र निर्माण गर्दा नै मैले घर बेचिसकेको छु । डेराको बसाइ छ । आफ्नो डुबेको रकम फिर्ता हुने १ प्रतिशत पनि सम्भावना देख्दिनँ ।’

उदाहरण ४
एक कलाकारलाई निर्देशकले ४ लाख रुपैयाँ दिन्छु भन्दै सम्झौतापत्रमा हस्ताक्षर गराउँछन् । १५ प्रतिशतका दरले ६० हजार करसमेत काट्छन् । त्यसको रसिदसहित निर्देशकले विदेशमा बस्ने निर्मातालाई सम्झौताको जानकारी गराउँछन् । निर्माताले रकम पठाइदिन्छन् । सञ्चारमाध्यममा कलाकारले ४ लाख पारिश्रमिक लिएको समाचार आउँछ, तर कलाकारले २ लाख रुपैयाँ मात्र पाउँछन्, १ लाख ४० हजार निर्देशकले नै खल्तीमा हाल्छन् । चलचित्रमा यसरी कमिसन खाने प्रवृत्ति अभिनय क्षेत्रमा मात्र होइन, यातायात, इन्धन, मेकअप, ड्रेसदेखि पोस्ट प्रोडक्सनसम्म हुन्छ । फलस्वरूप, निर्माताको करिब ४० लाख सम्बन्धित विभागको संयोजन गर्ने व्यक्तिले नै हजम गरिदिन्छन् ।

उदाहरण ५
चलचित्र ‘के यो माया हो’ को छायांकन पोखरामा भएको थियो । पोखराकै केही व्यवसायीले चलचित्रमा लगानी गरेका थिए । ६ वर्षअघि नै प्रदर्शन भएको उक्त चलचित्रमा करिब १ करोड लगानी भएको थियो । छायांकनका क्रममा नै चलचित्रका कलाकार नीर शाहले भनेका थिए, ‘पोखरामा भएजति अन्डा र खसी सबै सकिए । यति विलासी शैलीको सुटिङ कहिल्यै भएको थाहा छैन ।’ चलचित्रले लगानी नै उठाउन सकेन । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रका निर्माता त्यसपछि यो क्षेत्रमा देखिएनन् । प्रचार–प्रसारमा मात्र करिब १५ लाख खर्चेका निर्माताले लगानी सुरक्षित गर्न नसक्नु स्वाभाविकै थियो ।

उदाहरण ६
एक निर्माताले मेरो चलचित्रको सेल्स कति भयो भनेर वितरकलाई सोधे । उनको चलचित्रले देशभरिबाट ३६ लाख ५० हजार ग्रस कलेक्सन गरेको सुनाए । दुई दिनपछि निर्माता वितरकलाई भेट्न पुगे । निर्माताले ३५ लाख माग्दै भने– बाँकी हिसाब–किताब गर्दै गरौंला । वितरकले तपाईंको ग्रस कलेक्सन त्यति हो, कसरी सबै दिन सक्छु भने । त्यस क्रममा भएको विवादले उनीहरूको सम्बन्ध बिग्रियो ।

यी उदाहरणले नेपाली चलचित्रमा निर्मार्ता–निर्देशकको सम्बन्ध र लफडा कस्तो छ भन्ने स्पष्ट पार्छ । त्यसमध्ये पछिल्लो कथा चलचित्रकर्मी निर्मल शर्मालाई एक वितरकले सुनाएका थिए । उनी चलचित्र क्षेत्रका यस्ता धेरै कथाका श्रोता र साक्षी हुन् । २३ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय उनले धेरै निर्माताको आँसु देखेका छन् । परिवार बिग्रिएको र महलबाट सडकमा पुगेको देखेका छन् । उनी भन्छन्, ‘तर उनीहरूमध्ये अधिकांश डुबिसकेपछि, सिद्धिसकेपछि सम्पर्कमा आइपुग्छन् । त्यतिबेला मसँग पनि केही विकल्प हुँदैन । त्यसैले उनीहरूका गुनासाहरू फेसबुकमा लेखिरहन्छु ।’
उनी नेपाली चलचित्रमा अधिकांश निर्देशक निर्मातालाई ‘बटर’ लगाइरहेका पाउँछन् । ‘छक्कापन्जा’ जस्तो बनाउँछु, ‘शत्रुगते’ जस्तो बनाउँछु, ‘कबड्डी–कबड्डी’ जस्तो बनाउँछु, ‘जात्रै–जात्रा’ जस्तो बनाउँछु भनेर निर्मातालाई फुरुङ्ग बनाइदिन्छन् । एउटै चलचित्रबाट १५–१६ करोड रुपैयाँको व्यवसाय गर्ने चलचित्र बनाइदिन्छु भन्ने गुलियो कुरा सुनेपछि नयाँ निर्माता गालामा हात राखेर पैसा कमाउने बारेमा सोच्न बाध्य हुन्छ । सोच्न थाल्छ कि त्यसो हुँदा ३–४ करोड रुपैयाँ त कमाइ हालिन्छ । त्यसरी नयाँ निर्माता ५०–६० लाख रुपैयाँ लगानी गर्न पनि सजिलै तयार हुन्छ । उनी भन्छन्, ‘निर्माता फसाउने यो अत्यन्तै खतरनाक परिपाटी हो, जसले गर्दा केही नबुझेको मान्छे पनि त्यत्रो लगानी गर्न तयार हुन्छन् ।’
अर्को कुरा, चलचित्रमा लगानी गर्न लालायित हुने अधिकांश निर्मातालाई लाग्छ– यहाँको रंगीन संसारमा रमाइलो तथा मोजमस्ती गर्न पाइन्छ । सञ्चारमाध्यममा नाम आउँछ र सेलिब्रेटीको ट्याग मिल्छ । मुनाफा पनि मिल्यो भने झनै गज्जब !
यसो हुँदा राम्रो स्क्रिप्ट, विषयवस्तु र तयारीबिना नै चलचित्रहरू निर्माण भइरहे । त्यसो हुँदा वर्षमा औसत सय चलचित्र प्रदर्शन हुँदा तीनवटाले मुनाफा गरेको देखिन्छ । पाँचवटाले लगानी सुरक्षित गर्छन् भने ९० प्रतिशतभन्दा बढी चलचित्र प्रदर्शन खर्चसमेत उठाउन सक्दैनन् अनि घाटाको व्यापारपछि हरेक नयाँ चलचित्र निर्माण हुँदा नयाँ निर्माता देखिन्छन् । उनीहरूमध्ये अधिकांश पलायन हुन्छन् ।
चलचित्र ‘प्रेम गीत’ मार्फत निर्माता बनेका सन्तोष सेनसँग आफू ‘मुर्गा’ बनेको अनुभव छ । प्रेमगीत निर्माण गर्नुअघि नै निर्देशकसहितको समूहले २० लाखजति डुबाइदिएको उनी सुनाउँछन् । निर्देशकसहितको समूहको चिप्ला कुरामा बहकिएर चलचित्र निर्माण गर्न तयार भएको सुनाउँदै उनी भन्छन्, ‘छायांकनमा जानुअघिको तयारीमै झन्डै २० लाख खर्च भयो । तर, त्यसै क्रममा युनिटबारे नराम्रा कमेन्ट सुनिए । विभिन्न चलखेल थाहा पाएपछि योजना ड्रप गरेँ ।’ त्यसबेला आफ्नो लगानी बालुवामा पानीसरह भएछि निकै अनुसन्धान गरेर ‘प्रेमगीत’मा लगानी गरेको उनको दाबी छ ।
‘प्रेमगीत’ सिनेमा हलमा ५१ औं दिन पूरा गर्ने र व्यावसायिक रूपमा सफल मानिने चलचित्र मानिन्छ । तर, त्यसबाट पनि आफ्नो लगानी नउठेको सेन बताउँछन् । ‘प्रेमगीतले त लगानी उठाउन सकेन भने कुनै निर्देशकको आश्वासनमा परेर लाखौं रुपैयाँ आँखा चिम्लिएर लगानी किन गर्नुहुन्छ ?’ उनी नयाँ निर्मातालाई भन्न थालेका छन् । सेनले प्रेमगीत–२ बाट भने लगानी सुरक्षित मात्र गरेनन्, मुनाफासमेत आर्जन गरे । ३ करोड लगानी दाबी गरिएको ‘प्रेमगीत–३’ मा पनि त्यही आशामा छन् । भन्छन्, ‘सबै कुरा बुझेर निर्माण गरियो भनेचाहिँ लगानी सुरक्षित गर्न गार्‍हो छैन ।’

डुबिरहेको डेढ अर्ब
चलचित्रकर्मी शर्माका अनुसार सामान्य चलचित्रमा लगानी गर्दा पनि ५० लाख खर्च हुन्छ । अझ राम्रो बनाउँदा डेढ करोडसम्म पुग्छ । हरेक साता दुईदेखि तीन चलचित्रले घाटा बेहोरिरहेका हुन्छन् । त्यस हिसाबले वर्षको झन्डै डेढ अर्ब डुबिरहेको छ ।
‘पछिल्ला वर्षमा एका–दुई चलचित्रले मात्र राम्रो व्यवसाय गरेको छ । झन्डै ९७ प्रतिशत चलचित्र निर्माता घाटामा छन्’ उनी भन्छन्– ‘कसैको घर गएको छ, कसैको खेत । कसैको सेयर गएको छ, कसैको गरगहना । कसैले बैंकबाट लिएको ऋण तिर्न सकेका छैनन् ।’ उनले बैंकबाट ऋण लिएर चलचित्र बनाएका निर्माताले तिर्न नसकेर हनुमानढोका थुनामा पुगेको देखेका छन् । कति दम्पती ऋण तिर्न रोइकराइ गरेर हिँडिरहेको पनि देखेका छन् ।

निर्माताको अनभिज्ञता
चलचित्रमा लगानी गर्ने निर्माताहरूमध्ये अधिकांशले चलचित्र कारोबारबारे अध्ययन गरेको पाइँदैन । वितरकले निर्मातालाई प्रदर्शनपछिको हिसाब–किताब बुझाउन सकिरहेका छैनन् । चलचित्रकर्मी निर्मल शर्मा भन्छन्, ‘ग्रस कलेक्सनबाट १३ प्रतिशत भ्याट काटिन्छ । ५० प्रतिशत सिनेमा हलले लैजान्छ । वितरकले १० देखि १५ प्रतिशत कमिसन काट्छ । सबै हिसाबकिताब गर्दा निर्माताले पाउने भनेको २८–२९ प्रतिशत मात्र हो ।’ तर, यो हिसाबबारे अधिकांश निर्माता अनभिज्ञ हुन्छन् र ग्रस कलेक्सन हेरेर लगानी गर्छन् ।
पछिल्लो समय ‘छक्कापन्जा’, ‘कबड्डी कबड्डी’, ‘जात्रैजात्रा’ जस्ता सीमित चलचित्रले मात्र मुनाफा कमाएका छन् । त्यसको पनि ग्रस कलेक्सन हेरेर आफू पनि कसो नकमाइएला भन्ने निर्माताहरू डुबिरहेका छन् । चार चलचित्र निर्देशनपछि आफैं लगानी गर्न लागेका दिवाकर भट्टराई भन्छन्, ‘सीमित चलचित्रले पैसा कमाएको देखाएर यस क्षेत्रबारे रत्तिभर जानकारी नभएकालाई लगानी गर्न उत्साहित गर्ने समूह नै छ । एउटा चलचित्रमा लगानी गरेर घरबार नै गुमाउने निर्माताको संख्या बढ्दैछ । यस्तै अवस्था रहने हो भने दुई वर्षपछि चलचित्र क्षेत्रमा अझ भयावह स्थिति आउँछ ।’
सेनले पनि त्यस्तो उदाहरण देखेका छन् । कतिपय निर्माता बक्स अफिस रिपोर्टलाई आधार मानेर निर्माणमा आउँदा फसेका छन् । उनी भन्छन्, ‘उनीहरूलाई १५ करोड, १८ करोड कमाउने चलचित्रको उदाहरण दिइन्छ । जबकि १८ करोड रुपैयाँ ग्रस कलेक्सन गर्ने चलचित्र निर्माताको हातमा समेत ५–६ करोडभन्दा बढी परेको हुँदैन । जब ८० लाख लगानी गर्नेले १० लाख रुपैयाँसमेत फिर्ता पाउँदैनन्, तब गुमनाम जीवन बिताउनुको विकल्प हुँदैन ।’
चलचित्रबारेमा केही अध्ययन नगरी लगानी गर्न तम्सिने निर्माताकै कारण यो क्षेत्रले समस्या बेहोर्नुपरिरहेको चलचित्र वितरक गोविन्द शाहीको गुनासो छ । ‘कुन निर्देशकले राम्रो चलचित्र बनाउँछ ? कुन लेखकको स्क्रिप्ट उपयुक्त छ ? त्यसअनुसार कुन–कुन कलाकारलाई अभिनय गराउँदा चलचित्र राम्रो बन्छ ? कति लगानी गर्दा सुरक्षित हुन्छ ? यी प्रश्नको उत्तर नखोजी लगानी गर्दा असफल हुनु स्वाभाविक हो’– निर्मातासमेत बनिसकेका शाहीको निष्कर्ष छ । निर्माता सेनको बुझाइ पनि त्यही हो । उनी भन्छन्– ‘बजार नबुझी लगानी भइरहेको देखिन्छ । यसमा लगानीकर्ता सचेत हुनुपर्छ ।’
एक जना निर्माताले केही महिनाअघि ‘मेरो चलचित्र देशभरिका १ सय १९ वटा सिनेमा हलमा प्रदर्शन हुँदैछ’ भनेर फेसबुकमा लेखे । चलचित्रकर्मी शर्मा भन्छन्, ‘आजको मितिमा देशभरिमा १ सय १९ वटा चलचित्र प्रदर्शन हुनका लागि असम्भव नै छ । ‘छक्कापन्जा’ जस्तो चलचित्रले पनि एकैपटक त्यति हल पाएको रेकर्ड छैन ।’ निर्माता यस क्षेत्रबारे कति अनभिज्ञ छन् भन्ने यो अर्को उदाहरण हो ।

निर्माता खोज्न प्रेमिकाको प्रयोग
कतिपय निर्माता अभिनेत्रीहरूसँग नजिकिने लोभमा लगानी गरिरहेका पाइन्छन् । त्यसलाई बुझेका केही निर्देशकले आफ्नी अभिनेत्री प्रेमिकालाई प्रयोग गरेर नयाँ निर्माता खोज्छन् । निर्माता तथा निर्देशक सेनले पनि यस्ता केही अभिनेत्री र निर्देशक भेटेका छन् । उनी सुनाउँछन्, ‘चलचित्र छायांकन अवधिभर अभिनेत्री र निर्माताको अफेयर चल्छ । चलचित्र प्रदर्शनसँगै उनीहरूको अफेयर सकिन्छ । चलचित्र घाटामा जान्छ । अभिनेत्री पुनः अर्को चलचित्रका लागि नयाँ लगानीकर्ता खोज्न थाल्छिन्, त्यो पनि प्रेमी निर्देशककै सल्लाहमा ।’
प्रतिभा नभए पनि काम पाउनका लागि जे पनि गर्ने केही महिला कलाकार र उनीहरूलाई निर्मातासँग घुम्न पठाएर लगानी जुटाउने निर्देशकका कारण यस्तो विकृति पैदा भएको उनको बुझाइ छ । चलचित्र क्षेत्रमा चलिरहेको यो चक्रलाई उनी नैतिक पतनको यात्रा ठान्छन् ।

एनआरएन रहर
बजार ऋणात्मक देखिए पनि अमेरिका, क्यानडा, बेलायत, जापान, कोरिया, हङकङलगायतका देशमा नेपाली चलचित्रको एवार्ड कार्यक्रम भइरहेकै छन् । त्यस्ता कार्यक्रमबाट प्रभावित भएर विदेशमा बस्ने नेपालीहरू लगानीमा उत्साहित भइरहेको पाइन्छ । त्यस्ता धेरै निर्माता डुबेका कलाकार शर्माले देखेका छन् । त्यसैले उनले झन्डै दर्जनभन्दा बढी निर्मातालाई चलचित्रमा लगानी गर्नबाट रोकेका छन् ।
उनी भन्छन्, ‘नामका लागि विदेशबाटै पैसा पठाएर कसैले चलचित्र नबनाओस् । यदि एनआरएनका साथीहरूलाई लगानी गर्न मन छ भने नेपालमै आई समग्र अध्ययन गरेर मात्र लगानी गरून् ।’
चलचित्र क्षेत्रमा स्टारहरूले जुन प्रकारको पारिश्रमिक पाएको घोषणा हुन्छ । चलहपहल देखिन्छ र अन्तर्वार्ताहरू अनलाइनहरूमा आइरहेका हुन्छन् ।
त्यसले पनि निर्मातालाई प्रभाव पारिरहेको हुन्छ । त्यसलाई शर्मा ‘खुबसुरत धोका’ को संज्ञा दिन्छन् । त्यसलाई मात्र आधार नमान्न उनी लगानीकर्तालाई सुझाउँछन् ।

 

लगानीकर्ता सुरक्षित भएमात्रै चलचित्र जीवन्त हुन्छ

निर्मल शर्मा, चलचित्रकर्मी 

निर्माताको लगानी डुबिरहनु समग्र चलचित्रका लागि राम्रो होइन । यसलाई रोक्ने दायित्व चलचित्रकर्मीकै हो । निर्माता संघ, कलाकार संघ, चलचित्र संघ, निर्देशक समाजजस्ता चलचित्र क्षेत्रका संघ–संस्थाहरू यसतर्फ जागरूक हुनुपर्ने हो । यी संस्थामध्ये पनि चलचित्र संघले निर्माता बचाउने वातावरण सिर्जना गरिदिनुपर्छ । कलाकार संघले आचारसंहितामा काम गर्नुपर्ने देखिन्छ । निर्देशक समाजले निर्देशकहरूलाई अनुशासित बनाउनुपर्छ ।
मैले पाँच वर्षअघिदेखि नै चलचित्र विकास बोर्डलाई चलचित्र दर्ता गर्न आउँदा थोरै शुल्क लिएर भए पनि काउन्सिलिङ डेस्क राख्नुपर्छ भनिरहेको छु । त्यहाँ पावर प्वाइन्ट प्रिजेन्टेसन गरेर चलचित्रबारे निर्मातालाई बुझाउनुपर्छ ।
नेपाली चलचित्र प्रदर्शन हुने हलहरू र प्रदर्शनपछि हुने सेयर बाँडफाँडको तरिकाबारे त्यहाँ प्रिजेन्टेसन दिन सकिन्छ । हरेक साताको प्रदर्शनमा निर्माताले कति र सिनेमा हललाई कति पाउँछन् भन्ने बुझाउनुपर्छ । चलचित्रका वितरकले एड्भान्स लगानी गरेको खण्डमा कति प्रतिशत पाउँछ, नदिएको खण्डमा कति प्रतिशत पाउँछ, स्थानीय प्रचारमा कति लाग्छ, चेकरले कसरी चेक गर्छ, चेकरले दिएको हिसाबलाई कसरी आधिकारिक मान्न सक्छौं भन्ने जानकारी दिनुपर्छ ।
त्यस्तै, सफल चलचित्रकर्मीले आफ्नो अनुभव सेयर गर्ने वातावरण बनाउन सकिन्छ । पछिल्लो समय सफल चलचित्र बनाइरहेका दीपेन्द्र के खनाल, दीपकराज गिरी, निश्चल बस्नेत, दीपाश्री निरौला, रामबाबु गुरुङलगायतका युवा निर्देशकलाई ल्याएर काउन्सिलिङ कक्षा राख्न सकिन्छ ।
त्यसो गर्ने हो भने निर्माताले यस क्षेत्रको वास्तविकता थाहा पाउँछन् । आफूले गर्नुपर्ने मेहनत पनि थाहा हुन्छ । सबै पक्षबारे जानकारी भएपछि लगानी उपयुक्त हो कि होइन थाहा हुन्छ । बुझेर चलचित्र बनाउँदा डुब्यो नै भने पनि पश्चात्ताप हुँदैन ।
निर्माता सुरक्षित भए न चलचित्र क्षेत्र जीवन्त भइरहने हो । निर्माता नै विकर्षित हुने हो भने त यो क्षेत्रको ‘स्टारडम’ नै धराशायी हुन्छ ।

 

गलत काम गर्नेहरू डुबिरहेका छन् 

दिवाकर भट्टराई, निर्देशक

चलचित्रहरूमा २०–२५ लाख रुपैयाँ लगानी गर्ने एक जना मात्र निर्माताको नाम अगाडि आउँछ । उसको पछाडि ५० लाखभन्दा बढी लगानी गर्ने अदृश्य निर्माताको ठूलो संख्या हुन्छ । उनीहरूले चलचित्र क्षेत्रमा आएपछि रमाइलो गर्न पाइन्छ, नेम एन्ड फेम पाइन्छ, चलचित्र चल्यो भने थोर–बहुत मुनाफासमेत कमाउन सकिन्छ भन्ने सोचेर लगानी गरिरहेका हुन्छन् । त्यसक्रममा निर्देशन, कलाकार, स्क्रिप्ट आदिमा ध्यान दिंदैनन् । अन्त्यमा, चलचित्र असफल हुन्छ । खासमा चलचित्रलाई गलत तरिकाले बुझ्ने र प्रयोग गर्न खोज्ने निर्माताहरू नै ढिलो–छिटो डुबिरहेका हुन्छन् ।
यसमा चलचित्रकर्मीहरूको पनि उत्तिकै दोष छ । उदाहरणका लागि विदेशमा आयोजना हुने एवार्ड समारोहपछि क्रुज पार्टी, गाला डिनर आदि आयोजना हुन्छ । जहाँ, चलचित्र क्षेत्रका नाम चलेका अभिनेता–अभिनेत्री सहजै उपस्थित हुन्छन् । त्यहाँ उपस्थित हुने व्यक्तिहरूले कलाकारको निकट बन्छन्, जसले कलाकारलाई पैसा भए पछि जसरी पनि नचाउन सकिन्छ भन्ने भावनाको विकास गरिदिन्छ । कतिपय त कुनै व्यक्तिले दिएको उपहारमै
लोभिने कलाकार पनि छन् । त्यस्तो प्रवृत्तिले कलाकारलाई सम्मान गर्ने भन्दा पनि रमाइलो गर्ने
दृष्टिकोणले चलचित्रमा लगानी गर्ने निर्माता आकर्षित हुन्छन् । त्यस्तो लगानी डुब्ने निश्चितजस्तै हुन्छ ।
अर्कातिर, निर्देशक र निर्माताको स्कुलिङमै समस्या छ । निर्मातालाई बिजनेस र नामको लोभ देखाइन्छ । मनोरञ्जनको लोभ देखाइन्छ । चलचित्रको स्क्रिप्ट दर्ता भएको हुँदैन, छायांकनस्थल खोज्न थालिन्छ । नयाँ व्यक्तिलाई चलचित्रको नशा पिलाइन्छ । नशा चढेपछि ऊ जति पनि पैसा लगानी गर्न तयार हुन्छ । जब त्यो नशा उत्रिन्छ, धेरै ढिला
भइसकेको हुन्छ ।
निर्माता फसेपछि उसले आफ्नो वरपरका मान्छेहरूलाई खोज्छ, ऊ पनि फस्छ । यो एउटा चेनजस्तो
बनेको छ । अलि–अलि नाम आएपछि एकपटक फसेको निर्माता पुनः फस्ने सम्भावना हुन्छ । पछिल्लो पाँच वर्षको अवधिमा नेपाली चलचित्र क्षेत्रमा यही चेनले काम गरिरहेको छ । विगतमा जग्गा कारोबार गर्ने, सेयरको कारोबार गर्ने व्यक्तिहरू यो चेनमा फसेका थिए भने अहिले एनआरएनहरू यो चेनमा फस्ने क्रम जारी छ ।
हामीकहाँ तीन महिनामै चलचित्र बनाइदिने निर्देशकहरूको संख्या बढेपछि यो क्षेत्र ओरालो लाग्न थालेको हो । यो परिपाटी रोकिएन भने अबको दुई वर्षमा समग्र नेपाली चलचित्र क्षेत्र नै ध्वस्त हुन सक्छ । त्यसैले निर्माताले राम्ररी अध्ययन गरेर मात्रै लगानी गर्नुपर्छ ।
निर्देशकले पनि आफ्नो जिम्मेवारी व्यावसायिक ढंगले निर्वाह गर्नुपर्छ ।

 

निर्देशकको आश्वासनले डुबाउँछ

सन्तोष सेन, निर्माता

सही मान्छे नभेटेका कारण निर्माताहरू यस क्षेत्रका ठेकेदारसम्म पुग्छन् । यहाँ निर्देशकदेखि अभिनेता, अभिनेत्रीसम्म कमिसन खाने स्वभावका छन् । सिर्जनशीलता नभएकाहरूले यसो गरिरहेका हुन्छन् । त्यसैले नयाँ निर्मातालाई चलचित्र क्षेत्रको गलत तथ्य बताइदिन्छन् ।
मेरो विचारमा कतिपय निर्देशकले निर्माताहरूलाई विभिन्न प्रकारका आश्वासन दिएका हुन सक्छन् । पैसा कमाउने, रमाइलो गर्न पाइने आदि । तर, त्यस्तो आश्वासन गरिएको लगानी डुब्ने पक्का नै हुन्छ ।
त्यसैले नयाँ निर्माताले चलचित्रमा लगानी गर्नुअघि निर्देशकले विगतमा बनाएका चलचित्रहरूको इतिहास अध्ययन गर्नुपर्छ । ती चलचित्रका व्यावसायिक पक्ष नियाल्नुपर्छ । बक्स अफिसबाट प्राप्त तथ्यांकको अध्ययन गर्नुपर्छ । निर्माताको हातमा कति पैसा आउँछ भन्ने कुराको अध्ययन गर्नुपर्छ । चलचित्र केका लागि बनाउने हो, कति लगानी गर्ने क्षमता छ, लगानी उठेन भने के गर्ने भन्नेजस्ता प्रश्न आफैंलाई सोध्न जरुरी छ ।
यस क्षेत्रमा निर्माताका रूपमा टिकिरहने हो भने चलचित्र कसका लागि निर्माण गर्न लागिएको हो, आफूले के–कस्ता तयारीहरू गर्नुपर्छ, निर्देशक कसलाई लिने, कलाकार को–को लिने, कुन विषयमा बनाउने, स्क्रिप्ट लेखनमा कति समय लगाउने, कतिसम्म लगानी गर्ने भन्ने कुरा बुझ्नुपर्छ । 

Page 23
टिप्पणी

हाम्रोमा राम्रो निर्देशक नै छैन

- साप्ताहिक संवाददाता
राजेश हमाल, अभिनेता

फिल्म मेकिङ अत्यन्तै सिर्जनात्मक काम हो । तसर्थ, निर्देशन स्वाभाविक रूपमा सिर्जनात्मक हुनुपर्छ । तर, हामीले निर्देशन पेसालाई त्यति गम्भीरतापूर्वक लिएनौं । सिनेमालाई विषयको गहिराइमा बुझ्ने स्तरको निर्देशक नेपाली चलचित्रले अहिले पनि ‘मिस’ गर्छ । हामीकहाँ राम्रा बनेका चलचित्र पनि निर्देशकको खुबी भएर बनेका होइनन् । जसरी धेरैजसो चलचित्र बनाउँदा–बनाउँदै नराम्रा बन्छन्, त्यसैगरी बनाउँदा–बनाउँदै राम्रा बनेका हुन् । सिनेमाको ड्राइभिङ सिटमा निर्देशक हुनुपर्ने हो, हामीकहाँ निर्माता हावी छन् । यो हाम्रो तीतो वास्तविकता हो ।
व्यावसायिक फिल्म बनाउने निर्माताहरू फिल्म कलाका लागि.भन्दा व्यापारका लागि मात्रै हो भनेर आउँछन् । उनीहरू लगानीको तीन गुना बढी नाफाको लोभ राख्छन् । चलेका भनिएका फिल्ममा जे–जे खुराक थिए, त्यो–त्यो राख्न निर्माताले निर्देशकलाई दबाब दिन्छन् । सिर्जनाको उनीहरूलाई कुनै मतलब हुँदैन । नाफा कमाएकै फिल्मको सोचमा किन जाने भन्ने प्रश्न गर्ने निर्देशक पनि हुन्छन् । तर, निर्माताहरू बजारमा टेस्ट भइसकेको काम गर्ने हो, चुनौती किन मोल्ने भन्ने तर्क गर्छन् । ‘खालि सिरियस सिनभयो, यहाँ हँसाउने राख, यहाँ रुवाउने राख’ भन्छन् । यसरी सिनेमामा व्यापार हावी भइरहेको हो ।
सिनेमा वितरणको प्रणालीमा राम्रो विकास भए सँगसँगै सिनेमा निर्माणको माग पनि तिलियो । तपाईंसँग सिनेमाको ज्ञान छ, सिनेमा कसरी बन्छ भन्ने थाहा छ र कलाकारसँग सहज पहुँचको अवस्था छ तर पुँजी छैन भने पनि निर्माता बन्न सक्ने अवस्था आयो । धेरै निर्माण नियन्त्रकहरूले यसरी नै निर्माता भए । यस्तै माहोलका कारण पनि मैले अत्यधिक सिनेमा गर्ने वातावरण बन्यो ।
मलाई कतिले सोध्छन्– झुर सिनेमा किन गरेको ?सिनेमा कसैले पनि झुर बनाउँछु भनेर योजनाबद्ध काम थाल्दैन । तर, झुर सिनेमा बनिदिन्छ । कोही पनि फिल्ममेकर मकहाँ ‘ल राजेशजी, एउटा झुर सिनेमा छ, बजारमा चल्दैन तर तपाईं आबद्ध भइदिनुपर्‍यो’ भन्ने प्रस्ताव लिएर आएको हुँदैन । जो पनि आएर भन्छ, ‘राजेशजी, तपाईंले अहिलेसम्म नगरेको चरित्रमा एकदमै अद्वितीय स्क्रिप्ट छ, पूरा कथा सुन्नुभयो भने तपाईं आफै जिल खानुहुन्छ ।’ तर बन्दै जाँदा फिल्म फर्म्याटमै पुग्थ्यो । त्यो बेलामा फर्म्याटबाहिर सिनेमा बनायो भने दर्शकले पनि ‘यो के बनायो’ भन्थे । त्यसैले फर्म्याट एउटै हुन्थ्यो– हिरो, हिरोइन, भिलेन, हिरोको विद्रोह, सामाजिक विषयवस्तु, गीत, फाइट...।
म सिनेमामा आउने बेलामा निर्देशकहरू नै कहाँ थिए र ? नाम चलेका चार–पाँचजना थिए, ती पनि बूढा–बूढा । अब भने समाज हामीभन्दा एक खुड्किला माथि पुगिसक्यो, बाहिरको सिनेमाको हामीकहाँ सहज पहुँच भइसक्दा पनि हामीचाहिँ उही पुरानै ढर्रामा गइरह्यौं । सायद पुराना निर्माता/निर्देशकलाई एकैपल्ट सोचाइमा परिवर्तन ल्याउन पनि गाह्रो भयो । नयाँ प्रविधि अनुसारको जनशक्ति तयार हुन सकिरहेका थिएनन् । समयको रफ्तारलाई पकड्न नसक्नु नेपाली फिल्मको सबैभन्दा ठूलो विडम्बना हो । यस्तो विडम्बनाको कारण के भनेर मलाई सोध्नु हुन्छ भने म भन्छु–राम्रो निर्देशककै अभाव हो । मैले माथि पनि भनिसकें– हामीले निर्देशनलाई जति गम्भीरताका साथ लिनुपर्थ्यो, त्यसरी लिएनौं । दुई–चार अरु सिनेमा हेरेपछि त्यहीबाट आइडिया टिप्दा भइहाल्छ नि भन्ने ठान्यौं ।


मैले आफ्नो फिल्म करिअरमा छायांकनको लोकेसनमा गएर निर्देशकसँग छलफलै गरिनँ । मेरो हस्तक्षेप लगभग ‘जिरो’ नै हुन्थ्यो । स्क्रिप्टमा सहमत भएर स्पटमा गइसकेपछि त्यो निर्देशक तपाईंको नजरमा चाहे क्षमतावान् होस् या कमजोर, तपाईंले उसलाई स्वतन्त्रता दिनैपर्छ । पहिलोपल्ट फिल्म बनाइरहेको निर्देशकलाई पनि मैले यस्तै व्यवहार गर्थे । ‘बेनिफिट अफ डाउट’ दिनुपर्छ । सम्पूर्ण चलचित्रको ठेक्का लिएर बसेको व्यक्तिलाई एउटै पात्रको भूमिका निर्वाह गर्ने जिम्मेवारी लिएको व्यक्तिले बीचबीचमा हस्तक्षेप गर्नु ठीक होइन । फिल्म मेकिङमा निर्देशकमात्रै यस्तो व्यक्ति हो,जसले छायांकन हुनुभन्दा अगाडि आफ्नो दिमागमा सम्पूर्ण फिल्म हेरिसकेको हुन्छ । त्यसकारण त्यो ‘बेनिफिट’ निर्देशकलाई दिनुपर्छ । मैले त्यसै गरें ।
मलाई लाग्छ,अहिले नेपालले राम्रो फिल्म निर्देशक खोजिरहेको छ । सिनेमामा कलाकार भनेको मुख्यतःऔजार हो । हामी औजार हौं । औजारबिना निर्माण हुँदैन । तपाईं जतिसुकै कुशल निर्माणकर्ता किन नहोस्, तपाईंसँग घर बनाउने सीप छ, फर्निचर बनाउने सीप छ तर औजार छैन भने त्यसको अर्थ हुँदैन । हो, हामी त्यस्तै औजार हौं, जो आफैं सञ्चालित हुँदैन । कसको हातमा परेको छ, त्यसमा निर्भर हुने हो । त्यही पानी, त्यही चियापत्ती मलाई दियो भने अर्कै किसिमको चिया बनाइदिन्छु, त्यही तपाईंलाई दियो भने तपाईं अर्कै किसिमको चिया बनाइदिनुहुन्छ । निर्देशकत्यस्तै हो । अभिनेता–अभिनेत्री भनेका हामी त्यस्तै औजार हौं । बनाउने मान्छेले हामीलाई सही सदुपयोग गर्‍यो अर्थात् औजारको क्षमताअनुसार प्रयोग गर्‍यो भने पक्कै राम्रो प्रतिफल निस्किन्छ । जस्तो, मोबाइलजान्नेको हातमापर्‍यो भने उसले त्यसभित्रको सबै कुरा खोतल्छ । तर, कमजान्ने मान्छे छ भने ऊ फेसबुक, इन्स्टा र फोन गर्नेमै रुमल्लिन्छ ।
नेपाली सिनेमाको अर्को तीतो वास्तविकता के छ भने फिल्मको ड्राइभिङ सिटमा निर्देशक होइन, निर्माता बसिदिन्छन् । व्यापार पक्ष फिल्ममा हावी छ । निर्माता विशुद्ध पैसा लिएर आएको हुन्छ । उसले विशुद्ध पैसा कमाउने नियत राखेको हुन्छ । ऊ राम्रो फिल्म बनायो भने पैसा रहेछ है भन्ने मानसकितासहित आएको हुन्छ । फिल्ममा लगानी गर्‍यो भने तीन गुणा बढी नाफा हुन्छ भन्ने ठान्छ ।त्यसपछि सुपरहिट भएका फिल्ममा के–के खुराक थिए, त्यो हेर्छ अनि आफ्नो निर्देशकलाई त्यहीत्यही खुराक हालेर मेरो पैसालाई तीन गुणा बढाइदिनुपर्‍यो भन्दै दबाब दिन्छ । उसलाई सिर्जनाको कुनै मतलब हुँदैन उसले। निर्देशक नाफाको पछि मात्रै हिंड्ने नरहेछ भने पनि निर्माता मान्दैन । निर्माता चुनौती किन मोल्ने भन्ने तर्क गर्छ । त्यसकारण सिर्जना र व्यापार मिसिँदा सिनेमामा व्यापार हावी हुने सम्भावना सधैं हुन्छ ।

Page 24
केवल एक प्रश्न

एसएलसी दिँदाको रमाइलो अनुभव के छ?

- साप्ताहिक संवाददाता

तस्बिर : फाइल फोटो 

म एसएलसी दिने बेलासम्म पनि ड्याडीसँग स्कुल जाने गर्थें । एसएलसी परीक्षाको दुई दिन अगाडि ‘अप्सरा’ फिल्म साइन गरेँ । एसएसली परीक्षा दिन जाने दिन मेरो कान्तिपुर साप्ताहिकमा तस्बिरसहित समाचार छापिएको थियो । म त अति नै खुसी थिए । परीक्षाकेन्द्र पुग्दा सबैले मलाई हेरिरा’थे । ससानो आवाजमा सञ्चिता त एसएलसी दिने बित्तिकै पैसा कमाउने भयो भन्दै गाइँगुइँ चलिरहेको थियो । क्या मोज छ भन्दै कुरा गरेको सुनेँ । एक किसिमले त्यो दिन मेरो चर्चा सुनेर म आफूलाई सेलिब्रेटी महसुस गरिरहेको थिएँ ।
सञ्चिता लुइँटेल, अभिनेत्री

मलाई संक्षिप्त उत्तर दिनुस् भन्ने प्रश्न सकाउन डेढ घन्टा लाग्थ्यो अनि बाँकी प्रश्न डेढ घन्टामा सक्थें । तर, मैले कहिल्यै पनि प्रश्नहरू मिस गरिनँ ।
सुजित थापा, हास्यकलाकार

मेरो शरीरभरि चिटको कलेक्सन थियो त्यसैले मलाई शंका गरेर गार्डले पूरै चेकिङ गर्नु भएको थियो । तैपनि केही भेट्नु भएन र छाडिदिनुभयो । तर, पछि चिट सार्दै गर्दा पक्राउ परियो । ‘मैले तलाई माने, लु छिट्टो सार’ भनेर छाडिदिनुभयो ।
सुलक्षण भारती, रंगकर्मी

साथीलाई बचाउन मैले गार्ड सरसँग झगडा गरे अनि म पनि निष्कासित भएँ । १५ मिनेटपछि म पछाडि झ्यालबाट छिरेर अर्को गार्ड सरको सहयोगमा परीक्षा दिएँ । स्कुलदेखि नै कलाकार हुनुको फाइदा उठाएँ । यद्यपि त्यो बेला असाध्यै डराएको थिएँ । अहिले त्यो घटना सम्झँदा रमाइलो लाग्छ ।
किशोर भण्डारी, हास्यकलाकार

रमाइलो के हुनु, टेन्सन हुन्थ्यो । रातभरि बुक पढेर सकाउनु पर्ने हुन्थ्यो । बिहानै उठेर परीक्षा दिन जाँदा बाटोमा बुक पढ्दै गइन्थ्यो, अहिले सम्झँदा रमाइलो लाग्छ । एसएलसीको अर्को फाइदा नयाँ–नयाँ साथी बनाउन पाउनु पनि हो ।
सुरविना कार्की, अभिनेत्री

ओहो, ओठ तालु सुकेर बेहाल नै भएको थियो । अहिलेलाई यति भनूँ ।
दीपाश्री निरौला, हास्यकलाकार/निर्देशक

एसएलसीको परीक्षाभन्दा पहिले हुने मूल्यांकन परीक्षा पक्कै पनि सबैभन्दा रमाइलो थियो । स्कुलले आफैं परीक्षा लिने भएर रुटिन अलि छुट्टै थियो । सुरुमै म्याथको परीक्षा थियो । कक्षामा सँगै पढ्ने साथी राजुको पढाइमा खासै रुचि थिएन । त्यसैले उसलाई यो कुरा थाहा थिएन । सुरुकै दिन ‘आज त टन्नै चिट छ, अंग्रेजीमा पक्कै पास’ भन्दै उफ्रिँदै आयो । आज म्याथको परीक्षा होभन्दा गफ नलगा न केटा हो, रुटिन हेरेर आएको हो भन्यो । परीक्षा सुरु भएपछि सबै आ–आफ्नो धुनमा लेख्न थाले, राजु ट्वाँ पर्‍यो । राजुलाई हेरेर सारा कक्षा हाँस्यो । पछि सबैभन्दा पहिले फेल हुने पनि ऊ नै भयो ।
सौरभ चौधरी, फिल्म निर्देशक

घरदेखि ९ किलोमिटर टाढा एसएलसीको सेन्टर परेको थियो । फस्ट डिभिजनमा पास हुने लक्ष्य थियो । त्यसैले चिट हातमा लुकाएर जान्थें । तर, चिट चोरेको कसैले थाहा पाउँदैनथ्यो । अनि परीक्षा हलबाट सानसँग निस्किन्थे, नयाँ–नयाँ साथीहरू भेटिन्थ्यो । आहा, साँच्चै कति रमाइला थिए ती दिनहरू ।
प्रमोद अग्रहरी, अभिनेता

एसएलसीेको दोस्रो अन्तिम दिन थियो । जिस्केर साथीको कपडा सिलाउने मेसिन चलाइरा’थें । एक्कासि चोरी औंलामा मेसिनको सियोको टुप्पो गाडियो । अब परीक्षा दिन सक्दिनँ भन्ने डर लाग्यो । सियो झिक्न मेडिकल डाक्टरकोमा गएँ । सुरुमा डाक्टरले सक्दिनँ भन्यो । मेरो त होस हवास नै उड्यो । तर, पछि धेरै मुस्किलका साथ सियो झिकियो र बढो कठिनका साथ चारवटा औंलाले मात्रै समातेर परीक्षा दिएँ । तर, अन्तिममा सबैभन्दा बढी अंकचाहिँ त्यही विषयमा ल्याएको म कहिल्यै बिर्सन्न ।
रवि आचार्य, मोडल

मैले २०५८ साल चैतमा दिएको हो, एसएलसी । देशमा संकटकाल घोषणा थियो त्यसैले मलाई लाग्छ, परीक्षा भएकै बेला चार दिन बन्द पनि भएको थियो । मेरो गाउँदेखि तीन घन्टा लाग्ने ठाउँ अर्थात् सदरमुकाम कलैयामा एक्जाम सेन्टर परेको थियो । घरबाट आउन जान टाढा हुने भएर हामी साथीहरूले मिलेर १५ दिनका लागि सदरमुकाममै डेरा लिएका थियौं । त्यतिबेला मलाई लामखुट्टेले टोकेर ज्वरो आएको थियो । कहिल्यै भुल्दिनँ म त्यो क्षण ।
छुल्ठिम गुरुङ, अभिनेत्री

म मेरो ब्याचमै गणितको सबैभन्दा राम्रो विद्यार्थी थिएँ । र, गणित टिचरको फेभरेट विद्यार्थी पनि थिएँ । सरकारी स्कुलको विद्यार्थी भएकाले अंग्रेजी भने त्यति राम्रो थिएन । एक्जाममा मेरो क्लासकै टप फाइभ केटी साथी मसँग एक्जाममा सँगै परेको थियो । उसले मलाई अंग्रेजी सिकाउने, म उसलाई म्याथ । रुटिनअनुसार म्याथको गणित अगाडि थियो । त्यो साथीले कोट्याएको कोट्याइ गरेर मैले पूरा प्रश्न भ्याउने समय पाइनँ । त्यसैले रिजल्टमा पास मार्क मात्रै आयो । तर, अंग्रेजी परीक्षाको दिन त्यो साथीले मलाई हात्ती आयो, हात्ती आयो फुस्स बनाइदियो ।
विज्ञान राई, म्युजिक भिडियो निर्देशक

म रातभरि पढ्थे त्यतिबेला । त्यतिबेला बत्ती गइरहने भएर मामुले मलाई पढ्नका लागि ब्याट्रीवाला लाइट ल्यादिनुभएको थियो । तर, एसएसलीका बेला एक दिन पढ्दा–पढ्दा बत्तीको ब्याट्री नै सक्कियो । अनि मैले ठूलो मैनबत्ती बालेर पढेँ । पढ्दा–पढ्दै निदाएछु । मैनबत्ती सक्किएर पूरै सिरानी जलेछ । धन्न मामु तीन बजे ट्वाइलेट जान ब्युझिनुभएछ र त्यो सब देख्नुभयो π
सन्ध्या भट्टराई, मोडल

एसएलसीको अघिल्लो रात केही साथीहरू मिलेर स्कुलको वालबाट हाम्फालेर आफ्नो बेन्चको मुनि गेस पेपर लुकाउन लामा–लामा काँटी ठोक्न गएका थियौं र ठोक्यौं पनि । धन्न, भोलिपल्ट सबै प्रश्न सजिला थिए, त्यसैले चिट चोर्नु परेन ।
प्रकाश दाहाल, रंगकर्मी

दुइटै गणितमा १००–१०० नम्बर ल्याउने संकल्प थियो । तर, एउटामा ९० र अर्कोमा ९१ मात्रै आउँदा धेरै महिनासम्म चुकचुकाएको थिएँ ।
एन्जिला श्रेष्ठ, गायिका

मैले ०४५ सालमा एसएलसी दिएको हो । जनआन्दोलनको तयारी सुरु भइसकेको हुँदा आन्दोलन चर्किंदै थियो । ट्युसन जाँदाजाँदै असनको बीचमा प्रहरी र जनताबीच हानाहान हुँदा मेरो घाँटीमा ढुंगा आएर लागेको थियो । एकछिन त गोली नै लाग्यो कि जस्तो भयो । धन्न, त्यस्तो होइन रहेछ π
दीपेन्द्र लामा, फिल्म निर्देशक

मैले ०६५ सालमा एसएलसी दिएको हो । हाम्रो स्कुलमा एसएलसीका लागि होस्टेल अनिवार्य गरेको थियो । पढाइसँगै साथीहरूसँग गरेको रमाइलो म कहिल्यै बिर्सन्नँ । मलाई अझै याद एसएलसीको अन्तिम दिन अकाउन्टको परीक्षा थियो । अब साथीहरूसँग छुट्टिन पर्छ भनेर पूरा परीक्षा रुँदै दिएको थिएँ । मलाई लिनँ परीक्षा हल बाहिर मेरो बुबा आउनुभएको थियो । उहाँले एक्जाम बिग्रिएका कारण रोएको भन्ने लागेछ । त्यो पल सम्झिँदा आज रमाइलो लाग्छ ।
विशाल निरौला, गायक/एरेन्जर

पुरानो झापामा मेरो एक्जाम सेन्टर परेको थियो । घरबाट एक घन्टा टाढा थियो । परीक्षा दिन जाँदा साइकल लिएर जान्थ्यौं र साइकल एक जना चिनेको आन्टीको घरमा राख्थ्यौं । एक दिन परीक्षा सकेर साइकल लिन फर्किंदा बाटोमा धेरै ठूलो गोबन सर्प अगाडिबाट आयो र छेउको घरमा छिर्‍यो । त्यो सानो खरले छोपेको घरभित्र एकजना आमाले नानीलाई दूध खुवाइरहेको थिइन् । त्यो देख्दा म डराएँ । कतै नानीलाई टोक्ने हो कि भन्ने डरले मैले हतारहतार बाँसको किला उखेलेर त्यो सर्पमाथि प्रहार गरेँ । सर्प मर्‍यो । एसएलसी भन्नासाथ म सधैं यो घटना सम्झिन्छु ।
रजिना रिमाल, गायिका

परीक्षामा लेख्दै गर्दा पुलिसले बन्दुक भिरेर हलमा निरीक्षण गरेको याद आउँछ । जब–जब उनीहरू हलभित्र छिर्थे, डरले मेरो माइन्ड एकछिन त जिरो हुन्थ्यो ।
सुदीप रेग्मी, व्यवसायी

एसएलसीको परीक्षाताका म र मेरो मितज्यू एउटै बेन्चमा परेका थियौं । मीतज्यू हाम्रो ब्याचको टपर हुनुहुन्थ्यो । यद्यपि म अंग्रेजीको क्लास टपर थिएँ । मितज्यू अंग्रेजीमा कमजोर, म गणितमा । एक्जामका बेला संयोगले एकै बेन्चमा परिएको थियो । सोच्नुस्, अब के–के भयो होला π
कुमार भट्टराई, फिल्म निर्देशक

खासमा म एसएलसी दिने बेला एकदमै बिरामी भएको थिएँ । स्कुल जान पनि नपाएकाले परीक्षा बिग्रिन्छ कि भन्ने पिर थियो । तर, रिजल्ट राम्रो भयो । यही त होला रमाइलो अनुभव π
लक्ष्मी बर्देवा, अभिनेत्री

Page 25
सामाजिक सञ्जाल

‘हामी मास्क लुकाएर मानवता बेच्दैछौं’

- साप्ताहिक संवाददाता

बिन्ठु@BintheDai
बैंकको ढोकैमा गार्डले हात थाप्नुसु बाजे भन्दै दुई थोपा सेनिटाइजर चुहाइदिएपछि बूढाले नारायण भन्दै सुरुप्प पारे । इति श्री नेपालखण्डे कोरोना महात्मे स्वाहा !

अनुरागी@anuragiji
कोभिड–१९ विरुद्ध जनचेतना एवं सचेतना फैलाउन काठमाडौं मनपा १४ ले माइकिङ अभियान चलाउँदै रहेछ, गज्जब लाग्यो । नागरिकलाई घरभित्रै रहन, कुनैपनि सार्वजनिक समारोहमा नजान, अत्यावश्यक अवस्थामा बाहिर निस्कनुुपरे मास्क लगाउन र ह्याण्ड सेनिटाइजर प्रयोग गर्न अपिल गर्दैछ । सराहनिय काम ।

महिसासुर@shivarajkoiral
िचाइनिज डाक्टर र नर्स आफ्नो मारेर इटली कोरोना नियन्त्रण गर्न तीन प्लेन चार्टर गरेर गए । अमेरिकामा आफ्नो ज्यान धरापमा पारेर कोरोना भ्याक्सिन टेस्ट गर्न जनता खुसी–खुसी तयार भए । तर, नेपाली व्यापारी मास्क र सेनिटाइजर लुकाएर कालो बजारी गर्दै मानवता बेच्दैछन् । वाह रे मेरो देश ।

संघर्ष पन्त@Sangharsha_p
ठूलो त पल्टेको होइन, तर कोरोनाको डरले न मास्क लाइया’छ, न नै किनिया छ । हात धुने, केही खानुअघि सेनिटाइजर हातमा लगाउने, हात, खुट्टा धोएर घर छिर्ने लगायतका बानी पुरानै थियो, अहिले नि यही गरिन्छ । कोरोना भाइरससँग डर नलागेको मलाई मात्र हो कि अरूलाई नि हो ?

Kamal Thapa@kamalthapa034
बिहानदेखि बेलुकासम्म के–के गर्ने ? सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने, काम गर्दा पटक–पटक सेनिटाइजर प्रयोग गर्ने, सेनिटाइजर नभए साबुन पानीले हात धुने, शौचालय जाँदा र बाहिरबाट घर फर्केपछिट २० सेकेन्ड मिचीमिची हात धुने ।

विराज@BraajN
सेनिटाइजर पनि आफ्नै स्वांग भयो, खरक्क साबुन फानीले हात धोए हुँदैन र ?

Tamang@van_blon
आङमा लुगा छैन, खुट्टामा ट्याक–ट्याक भने जस्तो । मास्क खोइ, सेनिटाइजर खोइ, भेन्टिलेटरको व्यवस्था खोइ ?

Suzata Sapkota@Sapkota_suzata
कोरोनाबाट जोगिन भुटान सरकारले सडकमा नै फ्री सेनिटाइजर वितरण गरिरहेको छ । हाम्रो देशमा ५ गुणा बढीमा कालोबजारी । देश, सरकार र जनताको चरित्रको मुख्य मापन गर्ने सूत्र यही हो ।

Tirtha Prasai@TirthaPrasai
हामी न अहिलेका लागि अपडेट भयौं, न पुराना मान्छे रह्यौं । हाम्रा सुन पानी छर्कने, तितेपाती दल्ने, रक्सी छर्कने स्थानीय प्रचलन सकिए । ती लोकल सेनिटाइजर रहेछन् । अहिले पश्चिमा फर्मुलाअनुसार तालिम लिन्छौं । हाम्रो पूर्खा बाठा रहेछन्, भूत, प्रेत मन्साएको भन्दै कीटाणुबाट हामीलाई बचाउँदा रहेछन् ।

Chetkishna@chetkishna
हिजो कुरा हुँदा सेनिटाइजर पाछैनम् बा भनेथें, आज पाँत्लिटर्का जर्किनाँ माली गाईको गौंत, एक्माना जति मन्तरेको खरानी र भक्याम्लाको लौरो पठाउनोअ रच । खाटलाई खरानीको घेरो लाएँ, सिरानी मुनि लौरो राखें । बेल्का सुन्ति बेलाँ एकुन्चम्चा गौंत खार सुतिन्च । त्यस्ता नाथे डर त छु मन्तर ।

ठकुरी मिरा@thakurimira
अबदेखि मोबाइलमा पनि दुई चार थोपा सेनिटाइजर लगाउँदै पुछ्न पर्ने झो ।

Milan Timilsina@MilanTimilsina
मास्क लगाउँदा गाउँमा गोरुलाई मोला लगाएको याद आउँछ । अफिसको ढोकामा गार्डले सेनिटाइजर चुहाउँदा पूजामा पण्डितले पञ्चामृत दिएको सम्झना आउँछ । गर्नु गर्‍यो कोरोनाले पनि ।

डेजाझू@imDejavu259
चिउँडाँ मास्क ला’र र हाताँ सेनिटाइजर दलेसि कोभिड–१९ ले छुन्न भनेर लगभग नेपालीहरूले बुझिmसके ।

रामेश@RaameshKoirala
आज पातलिएको मेरो ओपिडीमा पनि ५० वटा बिरामी थिए । कताको हात धुने, कताको हरेकलाई जाँचेपछि सेनिटाइजर, कता हरेक बिरामीपछि टेबल कुर्सी पुछाई ? सम्भव छैन । मानौं, विदेश रोक्नेमात्र होइन, बाहिरबाट आएका नेपालीलाई पनि क्यारेन्टाइनमा राख्नु कम खर्चिलो र सम्भव एकल उपाय हो । बुझेको बेस ।

Shukra Asta Nepali@Shukra_asta
कोरोनाबाट आफ्ना जनतालाई जोगाउन भुटानका प्रधानमन्त्री आफैं रोडमा बसेर जनतालाई सेनिटाइजर, साबुन सित्तैमा वितरण गरिरहेका छन् । आफैं डाक्टर भएका हुनाले सचेतना पनि दिइरहेका छन् । राजा भएको देश हो भुटान ।

Swasti Sapkota@Swastika712
नेपालमा सबैभन्दा ठूलो विपत्ति नेपालीको तुच्छ बेहोरा हो । डेङ्गु हुँदा ओडोमस लुकाए । अहिले कोरोना आयो, मास्क लुकाए, सेनिटाइजर लुकाए । यहाँ रोगले भन्दा यस्ता नेपालीको बेहोराले मर्ने बढी डर छ मलाई ।

अक्षर काका@aksharkaka
अतिरिक्त इन्धन जुवाड गर्ने प्रतिस्पर्धामा नलाऔं । मास्क, औषधि, सेनिटाइजर आदि सामग्री गोदाममा नथन्क्याऔं । रुखा, खोकी, मर्की लागेका व्यक्ति भीडभाड, सार्वजनिक ठाउँमा नजाऔं । फलानो चिज खाऔं, कोरोनाबाट जोगिऊँ मार्काका तात्तो न छाराका समाचार लिंक सेयर नगरौं । कोरोनाको सन्त्रास न्यून गरौं ।

Romas Khatiwada@Romas23
डब्ल्यूएचओको नियमअनुसर क्वारेन्टाइनमा बस्नुस् भनेको हो । यसको मतलब आइसोलेसन वार्डमा बस्नुस् भनेको होइन । म पनि क्वारेन्टाइनमा यसकारण छु । मास्क लागाउँछु, भीडभाडमा जाँदिन, हात साबुन–पानीले धुन्छु, सेनिटाइजर लगाउँछु अर्थात म कोरोनासँग सजग र सचेत छु । अफवाह नफैलाऔं । संकट हामी सबैको हो, यसको सामना गरौं ।

KP Dhungana@kpdhungana
लुकायो, टेस्टै गरेन पो भन्छन् त हो । कोरोना भाइरस पनि लुकाउन सकिन्छ र भन्या । ए नेपालमा टेस्ट भा छैन । टेस्ट भएपछि देखिनु पर्ला भनेर कुरेर बस्या होला ! छक्कै पार्छन् हो । शंका फनि कतिसम्म क्या ?

Santosh Lama@SantoNT2
एक चर्चित नायकले कोरोना नेपालमा नआउने ठोकुवा गर्नु भएछ मजाक मज्जाकमा । उहाँलाई के थाहा, उहाँको शुभचिन्तकहरू त्यसैलाई सिरियसली लिने खालका हुनुहुन्छ झनेर ।

B Ram Panthi@badsah48
कोरोनाको त्रास, मास्कको कालोबजार ।

Page 26
जुम इन

तेस्रो पुस्ता पर्खिरहेका प्रदीप

दोस्रो पुस्ताबाट समेत कुनै परिवर्तनको सम्भावना नदेखेपछि प्रदिप परियार तेस्रो पुस्तालाई उत्प्रेरित गर्ने यात्रा सुरु गर्दैछन् ।
- कला अनुरागी

दोस्रो जनआन्दोलनपछि पहिलो चुनाव हुँदै थियो । मदन भण्डारी र गोल्छे सार्कीको भाषण क्यासेटमा सारी–सारी सुनिने समय । त्यही सन्दर्भमा सिन्धुली, खुर्कोट पुगे–गोल्छे सार्की । भीड उर्लियो, उनको भाषणमा गड्गडाहट ताली बज्यो । जब साँझ पर्‍यो, उनले कुनै गैरदलितको घरमा बास पाएनन्, होटलमा पनि उनलाई कसैले स्वागत गर्न सकेन । विकल्प थियो–दलित बस्ती । एक परियार परिवारको घरमा उनी बास बसे । त्यही घरमा हुर्किरहेको एक किशोरको मस्तिष्कमा यो घटनाले हलचल ल्याइदिएको थियो । तिनै किशोर थिए–प्रदीप परियार । जसले गत साता स्विट्जरल्यान्डको डाभोसस्थित ‘वर्ल्ड इकोनोमिक फोरम’ ले हरेक पाँच वर्षमा दिँदै आएको ‘योङ ग्लोबल लिडर्स–२०२०’ पाए ।
युवा सशक्तीकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा उनले पुर्‍याएको योगदान र सम्भावनाका आधारमा एवार्ड प्रदान गरेको फोरमले जनाएको छ ।
नौ कक्षामा पढ्दाको घटना सम्झँदै उनी भन्छन्–‘सार्कीसँगको त्यो भेटले मलाई विभेदसँग लड्न भित्रैबाट उत्प्रेरित गर्‍यो । राजनीतिको त्यो तहमा पुग्दा पनि उहाँमाथि गरिएको विभेदले मलार्ई धेरै गम्भीर बनायो । विभेद अन्त्यका लागि कठिन संघर्षको विकल्प रहेनछ भन्ने कुरा मेरो कलिलो मस्तिष्कमा कुँदियो ।’
त्यसो त, उनले स्कुले जीवनमा प्रत्यक्ष विभेदका अनेकन शृंखला भोगेकै थिए । छोएको निहुँमा दुर्व्यवहार भोगेका थिए, होटलमा पनि आफूले खाना खाएको भाँडा माझ्नुपरेको थियो । पढ्दा आफू बाहिर, गैरदलित साथीहरू भित्र बस्थे । त्यसका बाबजुद हुलाकमा जागिरे बुवाको बलबुँतामा उनको शिक्षादीक्षा अघि बढ्यो । एसएलसीपछि काठमाडौं आएर आफ्नो संघर्षको यात्रा सुरु गरे । विभेदको तह यहाँ छद्म थियो, तर अझ घना । गैरदलितले डेरा दिन अस्वीकार गरेको घटना उनका लागि नौलो रहेन । एक मुस्लिम परिवारमा उनले डेरा–आश्रय लिए । त्यहीँबाट उनले विभेदविरुद्ध संघर्षका खाका कोरे ।
दलित सेवा संघ, नेपाल युवा संस्थालगायतमा संलग्न भएर समाजको संरचना बुझ्न र विभेदको जरो पत्ता लगाउन थाले । बहस–पैरवी सुरु गरे । उनको त्यो अभियानले विभिन्न सन्दर्भमा विदेशसम्म पुर्‍यायो, युवा मन्त्रालयको ‘युथ लिडरसीप एवार्ड’ दिलायो । ‘योङ ग्लोबल लिडर्स (वाइजिएल)–२०२०’ त्यसैको पछिल्लो कडी हो ।
‘यो अत्यन्तै सम्मानित एवार्ड हो । अहिले मसँगै एवार्ड पाउनेमा फिनल्यान्डका प्रधानमन्त्री, भूटानका मन्त्री, व्यावसायिक संस्थाका सिइओहरू छन्’ प्रदीप भन्छन्–‘यसले नेपालको युवा आन्दोलनमा ठूलो योगदान पुग्छ भन्ने मलाई लाग्छ ।’ उनी यस एवार्डबाट नेपाली युवा आन्दोलनका साथै सीमान्तकृत एवं दलितको मुद्दा स्थापनामा आफूले खेलेको भूमिकाले पहिचान पाएको बताउँछन् ।

एवार्डमा उद्घोष गरिएझैं समाजमा शान्ति निर्माण उनको पहिलो प्राथमिकता हो । तर, यहाँ शान्तिको परिभाषा नै द्विविधाग्रस्त छ । ‘प्रत्यक्ष हिंसा नदेखिनु नै शान्ति हो भन्ने हाम्रो बुझाइ छ । तर जहाँ विभेद हुन्छ, त्यहाँ हिंसा भइरहेकै हुन्छ’, उनी प्रस्ट्याउँछन्, ‘विभेदरहित समाजमात्रै शान्तिपूर्ण हुन्छ ।’ उनी नेपाली समाज नामको सफा कार्पेटमुनि अनेकन कुँडाकर्कट देखिरहेका छन् । त्यहाँ छन्–सशस्त्र द्वन्द्वले दिएको घाउ, जो उकुच पल्टिरहेको छ । पीडितहरूको हृदय चिरिने आर्तनाद उस्तै छ । शान्ति निरूपण आयोग अलपत्र छ, बेपत्ताका परिवारमा उस्तै बेचैनी छ । विभेदको परिमार्जित संस्करण विकास भइरहेको छ । दलितलाई डेरा नदिने समस्या आजकै दिनमा पनि उत्तिकै छ । महिलामाथि विभेद छ, मधेसमाथि उत्पीडन छ ।
त्यसैले युद्धका बेलामात्रै होइन, हाम्रो जस्तो समाजमा हरेक समय शान्तिको बहस भइरहनुपर्ने उनको तर्क छ । उनी भन्छन्–‘सतहमा जमेको बरफ देखाएर त्यसमुनिको पानीलाई बेवास्ता गरियो भने डुबिन्छ । अहिले मैले प्रत्यक्ष विभेद भोगेको छैन, तर दलितसँग बस्न मन नलागेपछि फोन आयो है भनेर हिँड्नेहरू त भेटिरहेकै छु ।’ यस्तो विभेदले शान्तिलाई खल्बल्याइरहने उनको निष्कर्ष छ ।

मधेस आन्दोलनपछिसम्म पनि एयरपोर्टको बाथरूमअगाडि ढाका टोपी लगाएको मान्छेको फोटो राखेको देखेपछि उनले जनयुद्ध र आन्दोलनपछि बनेको राज्य पनि संवेदनशील छैन भन्ने निष्कर्ष निकालेका हुन् । उनी भन्छन्–‘राज्यले हरेक नागरिकलाई अपनत्वबोध गराउनै सकेको छैन । त्यहाँ त कम्तीमा गम्छा काँधमा राखेको फोटो हुनुपर्ने हो नि !’ राज्यको सोच र संरचना अहिले पनि उस्तै रहेको उनको बुझाइ छ ।
सिंगापुरको ट्रेन–लाइनमा अंग्रेजी, चाइनिज र मलेसियन गरी तीन भाषामा ‘उद्घोषण’ गर्ने गरिएको उदाहरण दिँदै प्रदीप राज्यप्रति नागरिकलाई अपनत्वबोध गराउने हो भने विविधतालाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिन्छन् । तर यहाँ शान्तिप्रक्रियापछि समावेशीकरण र आरक्षणमार्फत केही सकारात्मक प्रयत्न थालिए पनि विस्तारै विभिन्न छिद्र खोजेर त्यसको गला काटिँदै गएको उनको अध्ययन छ । त्यसका लागि सिंहदरबारको नेमप्लेट हेर्दा, बढुवाको सूची आउँदा वा राजनीतिक दलका मुख्य नेताहरू हेर्न सुझाउँछन् ।
‘कम्युनिस्ट पार्टी त नेवारहरूले स्थापना गरेको । तर, त्यसको स्थायी समिति सदस्य हुन जनजातिलाई नै कोटा चाहिने यस्तो स्थिति आउन लाग्यो । के यो साँच्चै गम्भीर स्थिति होइन र ?’, उनको प्रश्न छ, ‘महिला समानताको मुद्दा जोडतोडले उठाउने नेकपाको केन्द्रमा अझै ३३ प्रतिशत महिला नपुग्नुले के बुझाउँछ ? के कम्युनिस्ट आन्दोलनमा महिलाको योगदान थिएन ?’
आफूले समता फाउन्डेसनको नेतृत्वमा रहेर जातीय छुवाछूतको मुद्दा हेर्दा त राज्यको प्रशासनप्रति अन्यायमा परेकाहरूमा देखिएको चरम अविश्वास खुलस्त भएको उनी बताउँछन् । भन्छन्–‘प्रहरीले अन्यायमा परेकाको आवाज सुन्छ भन्ने विश्वास नै पैदा हुन सकेको छैन । अझ सीमान्तकृत वर्गलाई उनीहरूले गर्ने व्यवहार त बदलिएकै छैन ।’

यो असन्तुष्टि, यस्ता गुनासो प्रदीप एक्लोको होइन, उनको पुस्ताको हो । नेपाली राजनीतिमा उनी आफूलाई दोस्रो पुस्ताको धारमा उभ्याउँछन् र भन्छन्–‘यो पुस्ता गुनासो त गर्छ । तर, यसलाई बदल्ने चुनौती उठाइरहेको छैन ।’
चलिरहेकै संरचनामा ‘एजडस्ट’ हुने र त्यसैमा लाभहानीको खाता खोल्ने निरीह सोचले यो पुस्तामा घर गरिरहेको छ । त्यो घर भत्काउन मुस्किलमात्रै होइन, असम्भवजस्तै देख्छन् उनी । यो पुस्ताले प्रश्न गर्न सकेन । हाम्रो संस्कारले पनि त्यसलाई निरुत्साहित गर्‍यो । त्यसैले पुरानो पुस्ताले यो पुस्ताको चुनौती खेप्नु परेन । उनी उदाहरण दिन्छन्–‘हाम्रो पुस्तालाई त अन्तरजातीय विवाह ठीक लागे पनि समाजसँग प्रश्न गर्न सकेन, बरू पलायन भएर अस्ट्रेलिया पुग्यो ।’ अब त उनकै पुस्तालाई प्रश्न गर्ने अर्को पुस्ता तयार भइसक्यो ।
त्यसैले उनी आफूपछिको पुस्ता ताकिरहेका छन् । एवार्ड पाएपछि फोरमले उनलाई नेतृत्व विकासमा प्रशिक्षित गर्नेछ । त्यसलाई उनी हुर्किरहेको तेस्रो पुस्ता उत्प्रेरित प्रयोग गर्ने सोचमा छन् । संसारभरको प्रगति र प्रविधि देखे–भोगेको नेपालमा हुर्किरहेका तथा विदेश पुगेका लाखौं युवाबाट यो परम्परागत संरचना परिवर्तनमा योगदान दिन सक्नेमा उनी आशावादी छन् । जसको मनमा एउटा अर्को आन्दोलन हुर्किरहेको उनी देख्छन् ।
‘फेरि अर्को आन्दोलन ?’ प्रश्न उठिहाल्छ । अघिल्लो दशकमा मात्रै ठूलो आन्दोलन भएकाले त्यस्तै प्रकृतिको आन्दोलन भइहाल्ने सम्भावना देख्दैनन् उनी । ‘त्यसो भए कस्तो आन्दोलन त ?’ उनी जवाफ दिन्छन्–‘आन्दोलनपछि व्यवस्था परिवर्तन भयो । तर अवस्था परिवर्तन भएन । अबको आन्दोलन व्यवस्था परिवतर्नका लागि होइन, अवस्था परिवर्तनका लागि हुन्छ ।’ त्यो आन्दोलनले तेस्रो पुस्ताको नयाँ नेतृत्व जन्माउने आशा पनि उत्तिकै छ उनमा ।
त्यो आन्दोलन विचारको आधारमा होइन, मुद्दाका आधारमा हुने उनको आँकलन छ । त्यसका लागि ‘अरब स्प्रिङ’ को उदाहरण दिन्छन्, ब्राजिलको भ्रष्ट्राचारविरोधी आन्दोलनको अध्ययन गर्न सुझाउँछन् । ‘अरबमा आन्दोलन होला भनेर कसैले अनुमान गरेको थिएन । त्यहाँको बेथितिविरूद्ध युवाहरूले इन्टरनेटको माध्यमबाट बोलेपछि आन्दोलन फैलियो । ब्राजिललगायतका देशमा पनि फरक ढंगले आन्दोलन भइरहेको छ । अबको पुस्ताले त्यस्तै आन्दोलनको नेतृत्व गर्नेमा म विश्वस्त छु ।’
त्यसका लागि उनी आफू पनि गृहकार्यमा लागिरहेका छन् । त्यो पुस्तालाई आवश्यक ज्ञान उत्पादनको लागि समता फाउन्डेसनमार्फत अध्ययन, अनुसन्धान र प्रकाशनको काम अघि बढाउँदैछन् । साथै, एवार्ड जितिसकेपछि प्राप्त हुने मञ्चलाई दक्षिण एसियामा कायम जातीय छुवाछूतको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न प्रयोग गर्ने विचारमा छन् । ‘यसलाई कुनै न कुनै रूपले संयुक्त राष्ट्र संघबाटै सम्बोधन गराउने अभियानमा मेरो जोड हुनेछ’, उनी सुनाउँछन्, ‘त्यस्तै अन्तर्राष्ट्रिय मञ्च बनाएर न्याय र समतामूलक समाज निर्माणको प्रयत्न गर्नेछु ।’
र, उनको अन्तिम लक्ष्य राजनीति नै हो । राज्य संरचनामा नै परिवर्तन नल्याईकन अवस्था परिवर्तन हुन्न भन्ने उनको निष्कर्षबाट जन्मेको निर्णय हो यो । त्यसका लागि नयाँ पार्टी वा पुरानै ?
त्यो चाहिँ छलफलमै छन् उनी । नयाँ बनिरहेका पार्टीमा हुर्किदिने पुरानै प्रवृत्तिले उनलाई उति उत्साहित पारेको छैन । पुरानालाई धक्का दिएर नयाँ बनाउन सकिने सम्भावना छ त ? त्यसका लागि थप अध्ययन गर्दैछन् । निष्कर्ष निस्किसकेको छैन, निर्णय भइसकेको छैन । तथापि उनको प्रतिबद्धता छ–‘नयाँ पुस्तालाई उत्प्रेरित गर्दै सम्पूर्ण विभेदको अन्त्य भएको शान्तिपूर्ण राज्य निर्माणको आन्दोलनको अघिल्लो पंक्तिमा उभिनेछु ।’

Page 27
स्वास्थ्य स्याहार

कोरोना : संसारै सतर्क

- साप्ताहिक संवाददाता

तीन महिना बित्न लाग्दा कोरोना भाइरस (कोभिड–१९) को आतंक झन्पछि झन् बढ्दो छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंगलबारसम्म १ सय ५६ देशमा कोरोना भाइरस देखिएको पुष्टि गरेको छ । डब्लूएचओका अनुसार कोरोनाबाट संसारभर ७ हजार ४ सय २६ जना मानिसको मृत्यु भइसकेको छ भने १ लाख ७९ हजार १ सय १२ जना संक्रमित छन् । संक्रमण बढेसँगै संसारभर सतर्कता अपनाउन विभिन्न कदम चालिरहेका छन् ।
३१ डिसेम्बर २०१९ मा चीनको हुबे प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ को संक्रमण चीनपछि सबैभन्दा बढी युरोपेली मुलुकमा देखिएको छ । यो भाइरसका कारण चीनमा ३ हजार २ सय ३१ जनाको ज्यान गइसकेको छ भने त्यहाँ ८१ हजार १ सय १६ जना संक्रमित छन् । पछिल्लो समय चीनमा कोरोना भाइरसको असर कम हुँदै गएको चीन सरकारले जनाएको छ । यतिबेला कोभिड १९ को असर इटली, स्पेन, फ्रान्सलगायतका देशमा बढी देखिएको छ । कोरोनाको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको अवस्थामा नेपालमा पनि यसको त्रास बढ्नु स्वाभाविकै हो । हालसम्म नेपालमा १ जनामामात्र कोरोना भाइरस भएको पुष्टि भएको छ । तैपनि आममानिसमा यसको त्रास भने कायमै छ । साथै कोरोनाको शंका लागेर अस्पताल पुग्नेको संख्यामा कमी आएको छैन । नेपालमा बुधबारसम्म ५ सय ११ जनाको कोरोना परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले बताइन् ।
दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण ३ जनाले ज्यान गुमाएका छन् भने १ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । नेपालसँग भारतको खुला सिमाना भएका कारण आम नेपालमा कोरोना भाइरस समुदायमा प्रवेश गर्छ भन्ने त्रास बढेको देखिन्छ । सरकारले पनि कोरोना संक्रमित बिरामीको उपचारका लागि राजधानीका ५ अस्पतालमा १ सय २० र प्रदेशमा १ सय १५ वटा गरी २ सय ३५ आईसीयू बेड थप्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसबाहेक एक हजार आइसोलेसन बेड थप गर्ने तयारी भइरहेको छ । ‘तत्कालै नेपालमा ५ सय जनालाई कोरोना देखियो भने हामीसँग उपचार गर्ने ठाउँ छ,’ उनले भने ।

४५ देशका मानिसको मृत्यु
डब्लूएचओका अनुसार मंगलबारसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण १ सय ५६ देशमा देखिए तापनि ४५ देशका नागरिकको ज्यान गएको छ । धेरै मृत्यु चीनमै रहेको छ, जहाँ ३ हजार २ सय ३१ जनाको मृत्यु भएको छ । त्यहाँ ८१ हजार १ सय १६ जना संक्रमित भएको डब्लूएचओले पुष्टि गरेको छ । चीनपछि इटालीमा २ हजार ५ सय ३ जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ । यस्तै, स्पेनमा ३ सय ९ जनाको ज्यान गएको छ भने ९ हजार १ सय ९१ जनामा कोभिड–१९को संक्रमण देखिएको छ । फ्रान्समा १ सय ४८ जनाको मृत्यु भएको छ भने ६ हजार ५ सय ७३ जना कोरोना भाइरस संक्रमित छन् ।
यस्तै इरानमा कोभिड–१९ का कारण ८ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ १४ हजार ९ सय ९१ जना संक्रमित छन् । त्यसैगरी जापानमा २८, दक्षिण कोरियामा ८१, जर्मनीमा १३, स्विट्जरल्यान्डमा १४, बेलायतमा ५५, नेदरल्यान्डमा २४, फिलिपिन्समा १२जनाले ज्यान गुमाएका छन् । यस्तै, नर्वे, अष्ट्रिया, स्विडेन, पोल्यान्ड, लेबनानमा ३/३ जनाको ज्यान गएको छ । बेल्जियममा ५ जनाको ज्यान गएको छ । डेनमार्क र ग्रिसमा ४/४ जनाको मृत्यु भएको डब्लूएचओले जनाएको छ । यस्तै, आयरल्यान्ड, बुल्गेरियामा २/२ जनाले ज्यान गुमाएका छन् । सान मारिनोमा ९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी लक्जम्बर्ग, अल्बानिया, हंगेरी, युक्रेन, थाइल्यान्ड, बहराइन, क्यानाडा, पानामा, डोमिनिकन रिपब्लिक, गुयाना, ग्वाटेमाला, केम्यान आइसल्यान्ड लगायतका देशमा १/१ जनाको मृत्यु भएको छ । इन्डोनेसियामा ५, इजिप्टमा ४, इराकमा ९, संयुक्त राज्य अमेरिकामा ५८ र अल्जेरियामा ४ जनाको मृत्यु भएको छ । मोरक्को, अर्जेन्टिना, इक्वेडरलगायतका देशमा २/२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

‘ए’ रगत समूहलाई बढी ‘ओ’लाई कम संक्रमण
कोभिड–१९ को संक्रमण ‘ए’ रक्त समूह भएका व्यक्तिहरू बढी प्रभावित र ‘ओ’ रक्त समूह भएका व्यक्तिहरू कम प्रभावित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कोभिड–१९ को उद्गमस्थल वुहान र सेन्जेनमा संक्रमणमा परेका व्यक्तिहरूमा गरिएको अनुसन्धानले यो सार्वजनिक गरेको हो ।
दुई हजारभन्दा बढी संक्रमित व्यक्तिहरूको रक्त समूह परीक्षण गर्दा उक्त नतिजा देखिएको जनाइएको छ । परीक्षणमा ‘ए’ रक्त समूह भएका व्यक्तिहरू बढी रोगबाट प्रभावित हुनुका साथै उनीहरूमा लक्षण पनि बढी देखिएको थियो । वुहान युनिभर्सिटीका अनुसन्धानकर्ता वाङ जिङहुवानको नेतृत्वमा भएको यो अनुसन्धानको नतिजा अहिले प्रारम्भिक चरणमा रहेको र यस विषयमा थप अध्ययन अनुसन्धान हुने जनाइएको छ ।


२५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन

सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक तथा सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा बढी मानिस भेला नहुन नागरिकलाई निर्देशन दिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बुधबार बसेको बैठकले आमनागरिकलाई अत्यावश्यक कामबाहेक आवत–जावत र हिँडडुल नगर्न आग्रह गरेको छ । यस्तै सिनेमाहल साँस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्न निर्देशन दिएको हो । साथै बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालोबजारी, मिसावट गर्ने गराउनेलाई तत्काल प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ । दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरूको पर्याप्त मौज्दात भएकाले आम उपभोक्तालाई आवश्यकभन्दा बढी सामग्री खरिद र सञ्चय नगर्नसमेत अनुरोध गरेको छ । त्यस्तै सरकारले ५५ वटा देशबाट नेपाल आउन रोकेको छ । सरकारले बिहीबारबाटै चैत मसान्तसम्म विद्यालय र विश्वविद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै बिहिबारबाट सञ्चालन हुने भनिएको एसइइ परीक्षा पनि स्थगित भएको छ ।

स्वास्थ्य स्याहार

घरपालुवा जनावरबाट कोरोना सर्दैन

- साप्ताहिक संवाददाता

डा. शरदसिंह यादव 

विश्वभर कोरोना भाइरस संक्रमणको आतंक बढ्दो छ । अहिलेसम्म मानिसमा देखिएको उक्त भाइरस घरपालुवा जनावरबाट सर्छ हुन्छ कि हुँदैन भन्ने चासोसँगै चिन्ता हुन थालेको छ । यसबारे एड्भान्सड पेट हस्पिटलका डाक्टर शरदसिंह यादवले घरपालुवा जनावरबाट कोरोना भाइरसको जोखिम हुने/नहुने र जनावरलाई गर्नुपर्ने व्यवहारबारे दिएको सुझाव :

घरपालुवा जनावर र कोरोनाको सम्बन्ध
घरपालुवा जनावरमध्ये कुकुरमा कोरोना भाइरसको संक्रमण हुनसक्छ । तर, त्यो नोभेल कोराना भाइरस भन्दा फरक हो । उक्त भाइरस कुकुरबाट कुकुरमा मात्रै सर्छ, मानिसमा संक्रमण हुँदैन । कुकुरमा कोरोनाको संक्रमण आन्द्रामा हुन्छ । कोरोना संक्रमित कुकुरले रगत मिसिएको दिसा गर्छ । त्यस्तै खाना नखाने, बान्ता गर्ने जस्ता लक्षण देखिन्छन् । उपचार गर्दा संक्रमण भएका ५० प्रतिशत कुकुर निको भएको तथ्यांक छ । १५ वर्षअघिदेखि कुकुरका छाउराछाउरीलाई जन्मेको ४५ दिनभित्र कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । उक्त खोप महिना दिनको अन्तरालमा ३ पटक लगाइन्छ । त्यसपछि प्रत्येक वर्षमा लगाउने गरिएको छ । कोरोनाविरुद्धको खोप लगाइएको कुकुरमा अहिलेसम्म संक्रमण भएको पाइएको छैन । कुकुरबाट मात्रै होइन, कुनै पनि घरपालुवा जनावरबाट मानिसमा कोरोना नसर्ने भएकाले डराउन पर्दैन ।

पशुमाथिको अत्याचार
कतिपय देशमा नोभेल कोरोना भाइरसको डरले पशुपन्छीमाथि अत्याचार बढेको समाचार आएको छ । घरपालुवा जनावरबाट कोरोना भाइरस नसर्ने भएकाले जनवारमाथि अत्याचार अपराध हो ।

अरू संक्रमण हुनसक्छ
घरपालुवा जनावरबाट नोभेल कोरोना भाइरस संक्रमण नभए पनि अरूखाले संक्रमण हुनसक्छ । यसर्थ जनावर पाल्नेले समयमै सम्पूर्ण खोप लगाएर सुरक्षित हुनुपर्छ । पालेका जनावरलाई कुनै रोग लागे तत्काल चिकित्सकको निगरानीमा उपचार गराउनुपर्छ । त्यस्तै, जनावरसँगको हिमचिमपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । घरपालुवा जनावरलाई भान्छाकोठा तथा आफू सुत्ने कोठमा लैजानु हुँदैन ।

Page 28
स्वास्थ्य स्याहार

रक्सीबाट सेनिटाइजर

- समर्पण श्री

विश्वमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि नेपालमा पनि त्रास बढेको छ । संक्रमणबाट जोगिन मानिसले मास्क र सेनिटाइजरको अत्यधिक प्रयोग गर्न थालेका छन् । जसका कारण बजार यसको माग बढ्दो छ । महामारीलाई कमाउने मौकाका रूपमा लिने केही कालाबजारीका कारण पनि बजारमा यसको अभाव भएको आरोप छ । यसै परिवेशबीच ललितपुर महानगरपालिकाले स्थानीयलाई मास्क र सेनिटाइजर बनाउने तालिम दिएको छ । बजारमा अभाव हुन नदिन महानगरले रक्सीबाट सेनिटाइजर बनाउने तालिम सञ्चालन गरेको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को प्राविधिक सहयोगमा महानगरले रक्सीबाट सेनिटाइजर बनाउने तालिम दिएको हो । गत आइतबारबाट सुरू भएको तालिममा नगरको २९ वडाका ६० जना प्रतिनिधि सहभागी थिए । महानगरले यसअघि मास्क बनाउने तालिम दिएको थियो । ‘सुरुमा हामीले बजारको अभावलाई बुझेर मास्क बनाउने तालिम दियौं,’ महानगरपालिकाका वरिष्ठ इन्जिनियर हरिश्चन्द्र घिमिरेले भने, ‘त्यसपछि नास्टसँग सहकार्य गरेर स्थानीयलाई सेनिटाइजर बनाउने तालिम दिएका हौं ।’
सहभागीलाई घरेलु रक्सीबाट सेनिटाइजर बनाउने सम्पूर्ण तरिका सिकाइएको घिमिरेले बताए । घरेलु रक्सीको प्रयोगमार्फत नै सेनिटाइजर बनाउन सकिने हुँदा उत्पादनका लागि स्थानीय जनशक्ति तयार पार्न तालिम दिइएको नास्टका प्रवक्ता सुरेश कुमार ढुंगेलले बताए ।
तालिमपश्चात् घरेलु रक्सी प्रशोधन गरी सेनिटाइजर बनाउन निकै सजिलो हुने बताउँछन्, तालिममा मुख्य प्रशिक्षक एवम् नास्टका वरिष्ठ वैज्ञानिक साजनलाल स्याउला । स्याउलाका अनुसार घरेलु रक्सीमा ३५ देखि ४२ प्रतिशत इथाइनलको मात्रा हुन्छ । भाइरसका कीटाणु मार्नका लागि भने ७५ देखि ८० प्रतिशत इथाइनल आवश्यक हुन्छ । ‘हामीले रक्सीमा इथाइनलको मात्रा बढाउने तरिका सिकाएका हौं,’ उनले भने, ‘विश्व स्वास्थ्य संगगठनले सिफारिस गरेको तरिकामा नै हामीले रक्सीमा इथाइनलको मात्रा बढाउँन सिकायौं ।’

सहभागीहरूलाई रक्सीबाट सेनिटाइजर बनाउन सिकाउँदै नास्टका वैज्ञानिक ।

के हो सेनिटाइजर ?
सामान्यतया सफाइ गरेर कीटाणु मार्ने केमिकल नै सेनिटाइजर हो । हात सफा गर्नका लागि साबुनको प्रयाग गर्छौं भने भुइँ सफा गर्न डिसइन्फेक्टेन्ट प्रयोग गर्छौं । वैज्ञानिक स्याउलाका अनुसार शरीरको लिभिङ अर्गानिजममा प्रयोग गर्न एन्टिसेफ्टिक प्रयोग गरिन्छ । सफाइमा सबै केमिकल प्रयोगको आ–आफ्नै विधि छन् । ‘साबुनले हात सफा गर्दा फोहोर पखालेर लैजान्छ, कीटाणु मार्दैन’, स्याउला भन्छन्, ‘हामी डिसइन्फेक्टेन्ट भने शरीरमा प्रयोग गर्न सक्दैनौं, त्यसलाई ब्याक्टेरिया मार्नकै लागि प्रयोग गरिन्छ ।’ उनका अनुसार एन्टिसेफ्टिकमा मानव शरीरको सेलमा असर नगर्ने तर ब्याक्टेरियालाई मार्ने तत्त्व हुन्छ । यसर्थ सेनिटाइजर एन्टिसेफ्टिक हो ।

 

सेनिटाइजर आँखामा नपारौं

साजनलाल स्याउलाु

के–केबाट सेनिटाइजर बनाउन सकिन्छ ?
हजारौं तरिकाबाट सेनिटाइजर बनाउन सकिन्छ । तर, अल्कोहलबाट बनाइएको सेनिटाइजरलाई नै प्रभावकारी मानिन्छ । अल्कोहल पनि केमिकलकै वर्गमा पर्छ । रक्सीमा अल्कोहलसँगै मिथाइनल, इथाइनल, ब्युटानललगायत केमिकल हुन्छन् । विश्व स्वास्थ्य संगठनलेमिथाइनल, इथाइनल र ब्युटानलबाट सेनिटाइजर बनाउन सुझाव दिएको छ । हामीले चाहिँ घरेलु रक्सीमा पाइने इथाइनल प्रयोग गरेर सेनिटाइजर बनाउन सिकाएका हौं ।

यो कस्तो बेला प्रयोग गर्ने त ?
यो जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सकिन्छ । सेनिटाइजर प्रयोग गरेर भर्खर जन्मेको बच्चालाई समाउँदा पनि केही फरक पर्दैन । एक व्यक्तिबाट अर्कोमा संक्रमण नहोस् भनेर यसको प्रयोग गर्ने हो । अस्पतालको अपरेसन थिएटरमा जाँदा र अपरेसनपछि निस्कँदा पनि सेनिटाइजर प्रयोग गर्छन् । कुनै पनि संक्रमणबाट जोगिन यो सधैं उपयोगी हुन्छ ।

धेरै प्रयोग गर्दा असर गर्छ कि गर्दैन ?
गर्दैन । किनकि, अल्कोहल छालामा धेरै बेर बस्दैन । एकैछिनमा उडेर जान्छ । शरीरमा हुनै हानि गर्दैन । यसमा डराउनु पर्ने केही छैन । तर, यसलाई आँखामा पार्नुचाहिँ हुदैन ।

 

रक्सीबाट बनाउनु मापदण्डविपरीत

निरञ्जन पराजुली, प्राध्यापक

नेपाल केमिकल सोसाइटीका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्राध्यापक निरञ्जन पराजुलीले भने रक्सीबाट सेनिटाइजर बनाउनु मापदण्डविपरीत भएको बताएका छन् । ‘विदेशमा गाइड लाइन बनाउने, उत्पादन गर्ने र नियमन गर्ने निकाय फरक फरक हुन्छन्् । त्यसको गुणस्तर त हुनुपर्छ नि,’ उनी भन्छन्, ‘रक्सीमा अल्कोहलमात्र छ भन्ने ग्यारेन्टी उहाँहरूले गर्नुभएको छ र ? अल्कोहलमा किटाणू पनि हुनसक्छ ।’ उनले नास्टलाई रक्सीमा ८० प्रतिशत अल्कोहलको मात्रा पुर्‍याउनु पर्ने ग्यारेन्टी प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिएका छन् । उनले महानगरले बनाएको मास्क पनि प्रभावकारी नभएको टिप्पणी गरेका छन् ।

Page 29
राशिफल

राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मेष
साथीभाइसँग मनोरञ्जन गर्दा दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन् । मन मिल्नेहरूले मुख्य समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । वनभोजमा घुम्न जाने मित्रहरूको प्रस्ताव स्विकार्दा अविस्मरणीय क्षण बन्नेछ । साताको अन्त्यमा आर्थिक भार महसुस हुन गई सापटीको चपेटामा पर्न सकिन्छ ।

वृष
लामो तथा छोटो दूरीको यात्रामा थप खर्चले पिरोल्नेछ । राजनीतिक परिवर्तनकारी भूमिकामा नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइलाग्नेछ । पारिवारिक सुख–सुविधाका निम्ति विलासिताका सामग्री खरिद गर्न खर्च गर्नुपर्ने हुन्छ । धनागमनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । स्वास्थ्यप्रति हेक्का राख्नुहोला ।

मिथुन
बोलीको प्रभावले बिग्रन लागेको सम्बन्धलाई मल्हम लगाउन सहयोग गर्नेछ । प्रशंसा गर्नेहरूले भित्रभित्रै आलोचना गर्न सक्छन्, होसियारी हुनुमा नै आफ्नो कल्याण हुनेछ । हरियो रंगको प्रभावले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रको मांगलिक कार्यमा सहभागी भइनेछ ।

कर्कट
कला तथा साहित्यद्वारा अरूलाई प्रभाव पार्न सकिनेछ । खानपान तथा विलासितातर्फ संयम रहनु नै बेस होला । हठ गर्ने बानीले पारिवारिक मनमुटाव देखा पर्न सक्छ । ढिलै भए पनि सही मार्ग पहिल्याइनेछ । खरानी रंगको सवारी साधन खरिद गर्न आकर्षित भइनेछ । पश्चिमतर्फको यात्रा फलदायी सावित हुनेछ ।


सिंह
बलमिच्याइँले गरेका कार्यमा विवाद आइलाग्ला । अभिभावकको रुचिको ख्याल गर्दा आर्थिक नोक्सानी आइलाग्नेछैन । सहपाठीको सुझावमुताविक विदेश अध्ययनको मौका जुर्न सक्छ । कार्य सम्पन्न गर्न ढिलाइ नगर्नुहोला । यो साता पूर्वतर्फको यात्रा फलदायी सावित हुनेछ ।

कन्या
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरूले समस्या समाधानको बाटो देखाइदिँदा गुमिसकेको स्थान पुनः प्राप्त हुन सक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्नेछ । शंकास्पद व्यवहारले प्रेमिका चिढिन सक्छिन् । नीलो रंगको पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ ।

तुला
मनका भावना आदानप्रदान गर्ने मित्र भेटिन केही समय कुर्नुपर्नेछ । प्रसंगवश मन पराएको अभिलाषासमेत व्यक्त गर्न सक्छन् । पारिवारिक मतको अनुमोदनले प्रक्रिया अघि बढाउनुपर्नेछ । रोकिएका कार्य सम्पन्न भई आर्थिक संकटको समस्या स्वतः समाधान हुनेछ । नयाँ व्यवसायमा लगानी गर्ने प्रस्ताव आइलाग्न सक्छ ।

वृश्चिक
आफूभित्र उत्पन्न हुने चञ्चलताप्रति संयमित रहनुहोला । सुनौलो रंग तथा तरल पदार्थको कारोबार फाप्ने देखिन्छ । मन मिल्नेबीच ठाकठुक पर्न सक्छ, कम बोल्दा आफ्नो हितमा हुनेछ । साथीभाइको सुझावमुताविक व्यवसाय परिवर्तन गर्ने संयोग परेको छ ।

धनु
प्रेमी–प्रेमिकाहरूको भावना सकारात्मक ऊर्जामा परिणत हुनेछ । बेरोजगार हुनुहुन्छ भने रोजगारी प्राप्त हुने सम्भावना छ । सम्झनलायक कार्य सम्पन्न गर्दा ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । यो साता इष्टमित्रहरूबाट टाढै रहँदा लाभ हुने देखिन्छ ।

मकर
जीवनचर्या परिवर्तन गर्दा सफलताको मार्ग सहज हुने देखिन्छ । मन मिल्ने साथीले दिएको सुझाव मनन गरी चल्न सके आफूलाई प्रशस्त फाइदा हुनेछ । घरायसी व्यवहारमा समय नदिँदा पारिवारिक गुनासो बढ्नेछ । रोजगारीका निम्ति वैदेशिक यात्रा नजिकिँदो छ ।

कुम्भ
सेतो पहिरनमा प्रस्तुत हुन सके अरूको नजर आफूमाथि पर्नेछ । पारिवारिक सल्लाहमा अन्योल देखा पर्दा तपाईंको ठोस प्रस्ताव नै निर्णायक हुनेछ । खानपान फेरबदल भई शारीरिक दुर्बलता देखा पर्न सक्छ, योग अभ्यास तथा तातोपानी बढी पिउनाले प्रायः समस्याबाट मुक्ति मिल्नेछ ।

मीन
धार्मिक यात्राले नयाँ स्थानहरूको मनोरञ्जन दिलाउनेछ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ । मंगलबार तथा बिहीबार महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन् । विदेशी साथीहरूले नयाँ व्यवसाय सञ्चालन गर्ने प्रस्ताव राख्नेछन् । भोज–भतेर तथा खानपानमा सहभागी हुँदा समयको ख्याल गर्नुहोला ।

यौन जिज्ञासा र समाधान

जिज्ञासा

- डा. राजेन्द्र भद्रा

म ३० वर्षीय व्यक्ति हुँ । विवाह गरेको आठ महिना भयो, तर आजसम्म श्रीमतीसँग कुनै अस्थायी साधन प्रयोग नगरी सम्पर्क गरिरहेको छु । जहिले पनि स्खलन हुने बेलामा लिंग बाहिर निकाल्छु, तर निकाल्दा एकदम गार्‍हो हुन्छ, निकाल्न मनै लाग्दैन । श्रीमतीलाई कुनै औषधि प्रयोग गरूँभन्दा असर हुन्छ, पछि बच्चा नरहन सक्छ भनेर मान्दिनन् । त्यसैले तपाईंसँग सल्लाह लिन चाहन्छु । कुन औषधि प्रयोग गर्दा राम्रो होला ? अनि महिनावारी भएको कति–कति दिनमा गर्भ रहन सक्छ ? महिनावारी भएदेखि कुन–कुन दिनमा चाहिँ ढुक्कसाथ सम्पर्क गर्न सकिन्छ ? कृपया स्पष्ट पारिदिनुहोला ।
डी.के.
–३७८४

 


बाह्य स्खलन
तपाईंलाई थाहै होला, महिलामा महिनामा एकपल्ट मात्र डिम्ब निष्कासन हुन्छ । गर्भ रहन पुरुषबाट आएको शुक्रकीट र डिम्बको मिलन जरुरी हुन्छ । त्यसैले वीर्य स्खलन योनिभित्रै भएको स्थितिमा पनि डिम्ब निष्कासनको समयसँग मिल्नु आवश्यक छ ।
गर्भ नरहोस् भनेर लिंग झिक्ने अर्थात् बाह्य स्खलन विधि विशेष गरेर किशोर–किशोरी तथा युवा–युवतीमाझ प्रायः अपनाइने उपायमध्ये एक हो । वीर्य स्खलन हुनु ठीक अघि लिंग योनिबाट झिक्ने यो विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि प्रभावकारी तरिकाले अवलम्बन गर्न भने गार्‍हो हुन्छ । अब वीर्य स्खलन हुनै लाग्यो भनेर (एयष्लत या ल्य च्भतगचल) पुगेको राम्ररी थाहा नपाउँदा लिंग झिक्न ढिलो भइनिस्केको वीर्य योनिभित्रै वा योनिक्षेत्रमा लाग्न सक्छ । यसले प्रभावकारिता कम त हुने नै भयो, फेरि तपाईंले भन्नुभएजस्तै वीर्य स्खलनको त्यो बेलामा लिंगलाई सक्दो योनिमै राख्न मन लाग्ने हुनाले यसलाई निकाल्न एक हदसम्म असजिलो नै हुन्छ । यस्तो क्रियालाई अंग्रेजीमा ऋयष्तगक क्ष्लतभचचगउतगक भनिन्छ । ग्रिक भाषामा ऋयष्तगक को अर्थ यौनसम्पर्क र क्ष्लतभचचगउतगक को अर्थ रोक्नु भन्ने हुन्छ । यौनसम्पर्कको त्यो उत्कर्षमा पुग्ने बेलामा रोक्न मन नलाग्नुमा स्वाभाविकता छ ।
विभिन्न अध्ययनले १५ देखि २५ प्रतिशतसम्म गर्भ रोक्न नसकेको (ाबष्गिचभ च्बतभ) अवस्था देखाएको छ । यसले गर्भ रहने सम्भावना केही कम गरे पनि यौनरोग तथा एचआईभी सर्न भने सक्छ । गर्भ तथा यौनरोग तथा एचआईभी दुवैबाट बच्न कन्डमका साथै अरू प्रभावकारी गर्भनिरोधका उपायको प्रयोग पनि आवश्यक छ ।

गर्भनिरोधको कुरा
विवाहित जीवनमा यौनसम्पर्क पर्याप्त मात्रामा गरिने भएकाले गर्भ नरहोस् भन्नाका लागि भरपर्दो गर्भनिरोधको उपाय अपनाउनु नै श्रेयष्कर हुन्छ । छोटो समयका लागि गर्भनिरोध चाहिएमा कन्डम, खाने चक्की तथा तीन महिने सुई निकै प्रभावकारी उपायहरू हुन् । कपर–टी र नरप्लान्ट केही लामो समयका लागि उपयुक्त साधन हुन् । यी साधनको प्रयोग सुरु गर्नुअघि परिवार नियोजन सेवा केन्द्र, प्रजनन स्वास्थ्यका सेवा केन्द्र वा अस्पतालबाट यी साधनको प्रयोगका बारेमा राम्रोसँग परामर्श लिनु राम्रो हुन्छ । सो गर्दा साधनहरूका बारेमा विस्तृत रूपमा थाहा हुने मात्र होइन, कुन साधन आफूलाई सबैभन्दा उपयुक्त हुन्छ, आफैंले रोज्न पाइन्छ । अरूले तपाईंका लागि यो साधन प्रयोग गर्नुहोस् भनेर सल्लाह दिनु उपयुक्त मानिँदैन, किनकि यो कुरा प्रयोग गर्ने व्यक्तिको रोजाइमा भर पर्ने गर्छ ।
गर्भनिरोधका प्रत्येक साधनका केही असर हुने भए पनि ती सामान्य किसिमका हुन्छन् र बिस्तारै कम भएर जान्छन् । प्रयोगमा अभ्यस्त भएपछि सो चासोको विषय पनि बन्दैनन् । यहाँ तपार्इंले निर्धक्क यौनआनन्द प्राप्त गर्न जुन सहयोग पाउनुहुन्छ त्यसको महत्त्व धेरै नै छ । अर्को कुरा, गर्भनिरोधका अस्थायी साधनको प्रयोग गर्न बन्द गरेपछि फेरि गर्भ नरहने भन्ने कुरामा कुनै सत्यता छैन । तपाईंले परामर्श लिन जाँदा थाहा पाउनु हुनेछ कि यी साधन सही तरिकाले प्रयोग गरिएको हुनुपर्छ, नत्र गर्भ रहन सक्नेबारेमा सचेत गराउँछौं । स्थायी बन्ध्याकरणको हकमा मात्रै हामी पुनः गर्भ नरहने कुरा गर्छौं ।

गर्भ नरहने सुरक्षित समय कुन होला ?
सामान्यः रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्केको बेलामा हुनु जरुरी छ । डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुने गर्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।
यसै सन्दर्भमा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्केको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । डिम्ब निस्केको यस्तै २४ घण्टा वा सोभन्दा केही बढीसम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिले असुरक्षित काल मानिन्छ । महिनावारी ठीक २८ दिनमा नभई ढिलो–चाँडो हुन्छ भने ६ महिनासम्मको महिनावारीका दिनहरूलाई विचार गर्नुपर्छ । सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने २४–१८≠ ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१–११≠ २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा हुन्छ । माथिको हिसाबबाट तपाईंले पक्कै पनि के जवाफ पाइसक्नुभएको छ ।

Page 30
खेलकुद

ओलम्पिकमा ओझेल परेका खेलहरू

- साप्ताहिक संवाददाता
तस्बिरहरू : विकिपेडिया/पिक्साबे

ओलम्पिक यस्तो साझा खेलकुद प्रतियोगिता हो, जहाँ विश्वका सबै देशका खेलाडी समान हैसियतमा सहभागी हुन पाउँछन्, तर प्रतियोगिता सुरु भएको १ सय २४ वर्षमा केही खेललाई भने जति प्रयास गरे पनि सहभागी गराउन सकिएको छैन । केही खेलले प्रतियोगितामा सहभागी हुने अवसर पाए पनि निरन्तरता पाउन सकेनन् भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त केही खेल पनि प्रतियोगितामा सहभागी हुन पाएका छैनन् । विभिन्न कारण ओलम्पिक प्रतियोगितामा ओझेल परेका वा पारिएका खेलहरू :

 


क्रिकेट
१ सय २० वर्षअघि फ्रान्सको पेरिसमा भएको ओलम्पिक प्रतियोगितामा क्रिकेट खेललाई पहिलो पटक समावेश गरिएको थियो । उक्त प्रतियोगितामा ब्रिटेन र फ्रान्सले मात्र सहभागिता जनाएका थिए । त्यसपछि अहिलेसम्म क्रिकेटले ओलम्पिकमा स्थान पाएको छैन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ मा हुने ओलम्पिकमा क्रिकेटलाई सहभागी गराउन प्रयास गरिरहेको छ । तर, बीसीसीआईसँगको मतभेदका कारण टुंगिएको छैन ।


ब्रिज
तासको पत्तीमार्फत खेलिने ब्रिज खेलले पनि ओलम्पिकमा स्थान पाउन निकै प्रयास गर्‍यो । सन् १९९५ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमार्फत खेलकुदको मान्यता पाएपछि ब्रिजलाई यस वर्ष जापानमा हुने ओलम्पिक प्रतियोगितामा सहभागी गराउन निकै प्रयास भयो, तर सफल भएन ।


फुटसल
इन्डोर फुटबलका रूपमा चिनिने फुटसललाई पनि ओलम्पिकमा सहभागी गराउन धेरै प्रयास भयो । सन् १९८९ मा पहिलो पटक फुटसलको पुरुष विश्वकप आयोजना भएको थियो भने सन् २०१० देखि महिलाको विश्वकप फुटसल हुन थाल्यो । तर, यो खेलले अझै ओलम्पिक प्रतियोगितामा प्रवेश पाएको छैन । फिफाले सन् २०१६ मा रियो डि जेनेरियोले आयोजना गरेको ओलम्पिक प्रतियोगितामा यो खेललाई समावेश गर्न धेरै दबाब दिएको थियो, तर सफल भए । सन् २०२४ मा हुने ओलम्पिकमा फुटसललाई सहभागी गराउन थप दबाब दिने तयारी भएको जनाइएको छ ।


मोटरस्पोर्ट्स
मोटरस्पोर्ट्स विश्वको लोकप्रिय खेलको सूचीमा पर्छ । सन् १९०० मा पेरिसमा आयोजना भएको ओलम्पिक प्रतियोगितामा मोटरस्पोर्ट्सलाई प्रदर्शन खेलका रूपमा राखिएको थियो । पछि यो खेल फर्मुला वान स्पोर्ट्सका रूपमा विश्वमा सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा देखा पर्न थाल्यो । अहिले पनि विश्वमा मोटरस्पोटर््सका धेरै प्रतियोगिता आयोजना हुने गरेका छन् । मोटरस्पोटर््सले ओलम्पिक प्रतियोगितामा सहभागी हुने धेरै पटक प्रयास गरेको थियो । तर, ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष ज्याकुस रोग्सले ‘ओलम्पिक खेलकुद भनेको खेलाडीहरूको क्षमता र कुशलता मापन गर्ने प्रतियोगिता हो, वस्तुहरूको क्षमता नाप्ने होइन’ भन्दै अस्वीकार गरेका थिए ।

 

चेस
सन् १९२० मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले खेलका रूपमा मान्यता दिएपछि सन् १९२४ मा पेरिसमा भएको ओलम्पिक प्रतियोगितामा चेसलाई सहभागी गराउने योजना बनाइएको थियो । त्यतिबेला खेलाडी छनोटको मापदण्ड बनाउने विषयमा विवाद भएपछि चेस ओलम्पिक प्रतियोगितामा सहभागी हुन पाएन । अहिले विश्वका १ सय ४० देशमा विभिन्न किसिमका प्रतियोगिता भइरहेको यो खेललाई विश्व चेस फेडेरेसनले ओलम्पिकको मान्यताअनुसार पनि प्रतियोगिता गरिरहेको छ । तर, चेसले अझै ओलम्पिकमा समावेश हुने मौका भने पाएको छैन ।

 

फुटबल
अमेरिकन फुटबलको नामले चर्चामा रहेको यो खेलले सन् १९०४ मा अमेरिकाको सेन्ट लुइस र सन् १९३२ मा लस एन्जल्सले आयोजना गरेको ओलम्पिक प्रतियोगितामा प्रदर्शन खेलका रूपमा सहभागी हुने मौका पाएको थियो । अमेरिकामा अत्यधिक लोकप्रिय यो खेललाई अहिले आईएफएफले वर्ल्ड च्याम्पियनसिपको पनि आयोजना गर्दै आएको छ । यसपटक टोकियोमा आयोजना हुन लागेको ओलम्पिक प्रतियोगितामा समावेश गरिने नयाँ खेलहरूमा यो खेललाई पनि समावेश गर्नुपर्छ भनेर आवेदन परेको थियो, तर पनि यसपटकको ओलम्पिक प्रतियोगितामा यो खेल छनोटमा पर्न सकेन ।

 

 

बीच सकर
ओलम्पिक प्रतियोगितामा बीच भलिबलले मान्यता पाएपछि बीच सकरले पनि मान्यता पाउनुपर्ने आवाज उठ्यो । सन् २०११ मा फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले सन् २०१६ मा ब्राजिलको रियो सहरमा भएको ओलम्पिकमा बीच सकरलाई समावेश गर्न अनुरोध गरेका थिए । तर, उनको अनुरोधलाई ओलम्पिक कमिटीले अहिलेसम्म सुनवाइ गरेको छैन ।

 

बोलिङ
सन् १९८८ मा दक्षिण कोरियाको सिओल सहरमा आयोजना भएको ओलम्पिक प्रतियोगितामा बोलिङलाई पहिलो पटक प्रदर्शन खेलका रूपमा समावेश गरिएको थियो । प्रदर्शन खेलमा समावेश गरेपछि पछिल्लो पटक आयोजना हुने ओलम्पिक प्रतियोगितामा निरन्तरता पाउने सम्भावना बढी हुने देखिन्छ, तर बोलिङको हकमा त्यो भएन । सन् २०१६ को ओलम्पिक प्रतियोगितामा पनि समावेश गराउन वर्ल्ड बोलिङले प्रयास गरेको थियो । यसमा सफल हुन नसकेपछि आगामी ओलम्पिकमा प्रवेश पाउन फेरि प्रयास गर्‍यो । आगामी ओलम्पिकमा समावेश गरिने ५ खेलको सूचीमा बोलिङ पर्न सकेन । जसका कारण बोलिङको ओलम्पिक अभियान अझै सुरु हुन सकेको छैन ।


कराँते
एक अनुमानअनुसार अहिले विश्वमा कराँते खेल्नेको संख्या १० करोड छ भने १ करोड प्रतियोगी खेलाडी छन् । यो खेलको विश्वमा १ सय ८५ वटा महासंघ र प्रत्येक महिनाजसो २ हजारभन्दा बढी प्रतियोगिता हुने गर्छ । यो खेलले पनि अहिलेसम्म ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन । यसपटक जापानको टोकियो सहरमा आयोजना हुन लागेको ओलम्पिक प्रतियोगितामा समावेश गरिएका ५ खेलमा यसले स्थान पाउन सफल भएको छ । यो ओलम्पिकमा कराँतेको काता र कुमुतेमा ८ स्पर्धा हुने भएको छन् ।

 

उसु
चीनको मूल खेलका रूपमा रहेको उसुले पनि अझैसम्म ओलम्पिक खेलकुद प्रतियोगितामा समावेश हुन पाएको छैन । ओलम्पिक प्रतियोगितामा उसु खेलले प्रदर्शन खेलका रूपमा समावेश हुने मौका भने सन् १९३६ मा बर्लिनामा आयोजना भएको प्रतियोगितामै पाएको थियो । तत्कालीन जर्मनीका चान्सलर हिटलरको अनुरोधमा उसुलाई उक्त खेलमा समावेश गरिएको थियो । त्यसपछि सन् २००८ मा चीनको बेइजिङमा भएको ओलम्पिक प्रतियोगितामा यो खेललाई समावेश गर्ने भरमग्दुर प्रयास भएको थियो । आईओसीको बैठकले उसुलाई समावेश नगरे पनि चीनको संस्कृतिका रूपमा मानिने यो खेललाई समानान्तर रूपमा पहिलो पटक आयोजना गरिएको थियो, तर उक्त प्रतियोगितालाई आईओसीले भने ओलम्पिक पदकका रूपमा मान्यता दिएन ।

 

स्केटबोर्डिङ
युवाहरूको अत्यधिक आकर्षण रहेको स्केटबोर्डिङले पनि अहिलेसम्म ओलम्पिक प्रतियोगितामा समावेश हुने मौका पाएको छैन । सन् २०२० मा टोकियोले आयोजना गर्ने ओलम्पिक प्रतियोगितामा समावेश गरिने ५ नयाँ खेलमा स्केटबोर्डिङले पहिलो पटक स्थान पक्का गर्न सफल भएको छ । यो खेलले समावेश हुने मौका पाएपछि ओलम्पिक प्रतियोगितातर्फ अर्को
युवा वर्गको आकर्षण हुने अनुमान गरिएको छ ।

 

डान्सस्पोर्ट्स 
डान्सस्पोर्ट्ससँग सम्बन्धित केही खेल : रिदमिक जिम्न्यास्टिक, आर्टिस्टिक स्विमिङले ओलम्पिक प्रतियोगितामा सहभागिता गर्न पाएको धेरै वर्ष भइसक्यो । सन् १९९७ मा महासंघ गठन भएपछि डान्सस्पोर्ट्सले ओलम्पिकमा सहभागी हुन व्यापक प्रयास गर्‍यो, तर यो खेलका लागि अझै ओलम्पिकको ढोका खुलेको छैन ।


कबड्डी
दक्षिण एसियाली क्षेत्रमा लोकप्रिय कबड्डी खेलले ओलम्पिक प्रतियोगितामा अझै सहभागिता जनाउन पाएको छैन । सन् १९३६ मा बर्लिनमा आयोजना भएको १० औं ओलम्पिक प्रतियोगितामा कबड्डीले प्रदर्शन खेलका रूपमा सहभागी हुने मौका पाएको थियो । अहिले कबड्डीको विश्वकप प्रतियोगिता आयोजना भएपनि ओलम्पिकमा स्थान पाउन सकेको छैन ।

Page 32
जाँदाजाँदै

राजनीतिक दबाबमा काम गर्दिनँ

- साप्ताहिक संवाददाता

तस्बिर : श्रुति श्रेष्ठ 

अघिल्लो वर्ष चैतदेखि रिक्त सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा सरकारले माघको पहिलो साता प्रा. गणेशदत्त भट्टट्ट नियुक्त गर्‍यो । द्वन्द्वकालका घटनाको संक्रमणकालीन न्यायका लागि २०७१ सालमा आयोग गठन भए पनि यसले उल्लेखनीय काम गर्न नसक्दा आलोचित रहन पुग्यो । आयोगमा द्वन्द्वपीडितका ६५ हजार उजुरी परेका छन् । कानुनका ज्ञातासमेत रहेका प्रा. भट्टसँग आयोगको काम र नयाँ नेतृत्वको भूमिका सम्बन्धमा साप्ताहिकका कृष्ण आचार्यले गरेको कुराकानी :

 

पाँच वर्षअघि गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगको विगतको काम र भूमिका सन्तोषजनक देखिँदैन । तपाईं दुई महिनाअघि नेतृत्वमा आउनुभएको छ । आयोगको काम–कारबाहीलाई कसरी प्रभावकारी बनाउनुहुन्छ ?
म अध्यक्ष भएर आइसकेपछि हामीले गरेको सबैभन्दा महत्त्वपूर्ण काम द्वन्द्वपीडितसँग सम्पर्क बढाउने नै हो । हामीले गर्ने काम र निर्णयमा उहाँहरूलाई प्रत्यक्ष समेटेर लगेनौँ भने आयोगको औचित्य रहँदैन । त्यसमा हामी सचेत छौँ । हामीले आयोगका कागजात, ऐन, नीति, नियमको राम्रोसँग अध्ययन गर्‍यौँ र त्यसका कमी–कमजोरीहरू केलायौँ । यसमा के–कस्तो संशोधन आवश्यक छ भनेर गृहकार्य गरिसकेका छौँ । अहिले सत्यनिरुपण तथा मेलमिलाप आयोगको कानुन संशोधनको प्रक्रियामा छ । द्वन्द्वपीडितको पक्षमा कानुन संशोधन गर्न लबिङ थालेका छौँ । कर्मचारीको अभाव थियो, त्यो पूरा हुँदै छ । परिपूरणको नीतिमा पनि काम गरिरहेका छौँ । ७ वटै प्रदेशबाट पीडितको उजुरी लिने कामलाई पनि हामीले प्रभावकारी बनाएका छौँ । आयोगले गर्नुपर्ने काम थालिसकेको छ । प्रक्रियामा जाँदा केही समय आउला, तर हामी सबै उजुरीको सम्मान गर्दै तिनलाई एउटा निष्कर्षमा अवश्य पुर्‍याउँछौँ ।

द्वन्द्वपीडितहरू त आयोगप्रति अत्यन्तै रुष्ट भएको सुनिन्छ, तपाईंसँग के–कस्ता विषयमा कुराकानी भयो ?
अहिले सत्यनिरुपण तथा मेलमिलाप आयोगको कानुन संशोधनको प्रक्रियामा छ । उहाँहरूले कानुन संशोधन भएपछि मात्र कसरी अगाडि बढ्ने भन्ने निर्णय लिने बताउनुभएको छ । चाहेअनुसारको कानुन आयो भने स्विकार्ने र आयोगलाई पनि सहयोग गर्ने उहाँहरूको मनसाय मैले पाएँ । पाँचवटा प्रदेशमा उहाँहरूसँग छलफल पनि गर्‍यौँ । उहाँहरूको चाहना र स्थितिबारे जानकारी पाउन सक्यौँ । अहिले पनि निरन्तर द्वन्द्वपीडितहरूसँग हाम्रो छलफल भइरहेको छ । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्पर्क बढाउँदा हामीले उहाँहरूको पीडा, मर्का बुझ्ने अवसर पायौँ ।

विस्तृत शान्ति सम्झौताका तीन पक्ष थिए— माओवादी लडाकुको व्यवस्थापन, गणतन्त्रात्मक संविधान निर्माण र द्वन्द्वपीडितलाई न्याय दिलाउने काम । दुईवटा काम पूरा भइसके, तर संक्रमणकालीन न्यायको पक्षमा यतिका लामो समयसम्म काम हुन नसक्नुको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
शान्ति मन्त्रालय, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूमार्फत द्वन्द्वपीडितलाई राहत दिने काम भएको छ । यसलाई हामीले नकार्नु हुँदैन । तर, सशस्त्र द्वन्द्वका क्रममा राज्य या विद्रोही पक्षबाट भएका हिंसामा पीडितलाई सम्बोधन गर्ने, उनीहरूको पिर–मर्का बुझ्ने वा उनीहरूलाई न्याय दिने काममा आयोगमार्फत जति काम हुनुपर्ने हो, त्यो भएको छैन । पीडितको उजुरी लिएर दर्ता गर्ने काममात्र भएको छ । आयोगले ऐन, कानुन, विधि, विधानमा बसेर यो घटनाका सन्दर्भमा यसो गर भनेर सरकारलाई सिफारिस गर्ने हो । हामीले आफैं न्याय दिने होइन । तर, सिफारिस गर्ने काममा पनि ढिला हुनु पक्कै आयोगको कमजोरी हो ।

पीडितलाई न्याय दिने सवालमा यसका आधार तथा सीमाहरू त होलान् नि ?
अहिले झन्डै ६५ हजार उजुरी दर्ता भएका छन् । बिस्तारै हामी ती उजुरीलाई पल्ट्याउँछौँ । हाम्रो क्षेत्राधिकारभित्र पर्ने उजुरीलाई एकातिर राख्छौँ भने अन्यलाई तामेलीमा पठाउँछौँ । केवल निवेदनमात्र दिइएको छ, त्यसलाई प्रमाणित गर्ने आधार छैन भने त्यस्ता उजुरी तामेलीमा जान्छन् । भोलि प्रमाणहरू आयो भने तामेलीलाई फेरि जगाउन सकिन्छ । उजुरीमा पीडतहरूको माग पनि समेटिएको हुन्छ । त्यसमा हामी प्रारम्भिक र विस्तृत अनुसन्धान गर्छौं । प्रारम्भिक अनुसन्धानमा उजुरीको अध्ययन गरेर पीडितले चाहेको पक्षलाई केलाउँछौँ । उहाँहरूले परिपूरण (रोजगारी, छात्रवृत्ति, आवास) मागेको हो कि, क्षतिपूर्ति मागेको हो कि, हत्यारामाथि कारबाही चाहेको हो, त्यसलाई हामी प्रारम्भिक अध्ययनमा केलाउँछौँ । जघन्य अपराधका घटनाहरूमा उहाँहरूको माग जायज छ या छैन भनेर फेरि विस्तृतमा अनुसन्धान गर्छौं । प्रमाण पुगेको छ भने कारबाहीको प्रक्रिया अगाडि बढाउन राज्यलाई सिफारिस गर्छौं । अहिलेको कानुनी व्यवस्थाअनुसार हाम्रो सिफारिस महान्यायाधिवक्ताको कार्यालयमा पुग्छ । मुद्दा चल्ने–नचल्ने उसले नै निर्णय गर्छ र त्यसलाई विशेष अदालतमा पठाउँछ । त्यसपछि पनि मुद्दा सर्वोच्च अदालतसम्म पुग्ने व्यवस्था छ ।

सरकारको त राजनीतिक पक्षधरता हुन्छ । ऊ पीडक पक्षको पनि हुन सक्छ । राजनीतिक दबाबमा तपाईंहरूको सिफारिस थन्क्याउन सक्ने अधिकार सरकारसँग रहेको देखियो नि ?
कानुनमा उल्लेख भएको आधारमा मैले यसो भनेको हुँ । कानुनमा भएको कुरालाई हामीले ठीक होइन भनेर बोल्न मिल्दैन । कानुन संसद्ले बनाउने हो । भोलि कानुन संशोधनका क्रममा संसदीय समितिमा बोलाएर हाम्रो सुझाव मागेको खण्डमा हामीले यी विषय मिलाउँदा ठीक हुन्छ भन्ने हो । हाम्रो अधिकार द्वन्द्वकालीन मुद्दाहरूलाई केलाएर सरकारलाई सिफारिस गर्नेमा सीमित छ । कानुनले तोकेको क्षेत्राधिकारभन्दा बाहिर गएर हामीले काम गर्न मिल्दैन । यसमा बोल्न पनि मिल्दैन ।

अहिले द्वन्द्वपीडितमा न्यायको आशा मरिसकेको अवस्था छ । त्यो आशा जगाउने तपाईंको पहिलो प्रभावकारी काम के हुन्छ ?
न्यायको एउटा सर्वमान्य सिद्धान्त छ, ‘ढिलो न्याय दिनु न्याय नदिनुबराबर हो ।’ द्वन्द्वपीडितले न्याय पाउने विषय राष्ट्रिय एजेन्डा हुनुपर्छ । यसमा राजनीतिक पार्टीको भूमिका महत्त्वपूर्ण हुन्छ । मलाई पनि यो काम निकै ढिला भएजस्तो लाग्छ । तर, आयोगले एउटा प्रक्रियामा बसेर काम गर्ने हो । पहिला यो गर्ने, त्यसपछि यो गर्ने अनि त्यसपछि यो गर्ने भन्ने प्रक्रियागत बन्धनमा हामी छौँ । द्वन्द्वपीडितहरूसँग छलफल गर्दा म आफै धेरै पटक भावुक भएको छु । दुई छोरा मारिएकी एउटी बूढीआमा, श्रीमान् मारिएका दुई बच्चाकी आमा, सम्पत्ति कब्जा गरिएकाहरूको पीडा । यस्ता घटनाहरू त कति छन् कति !

आयोगको विगतको नेतृत्वबाट पनि आश्वासन सुनिँदै आएका हुन् । तर, राजनीतिक दबाबमा आयोगले काम गर्न नसकेको अवस्था रह्यो । तपाईं यस्ता दबाबलाई चिरेर अघि बढ्न सक्नुहुन्छ ?
आजको मितिसम्म कुनै दलको दबाब मैले पाएको छैन । उहाँहरूको चाहना प्रभावकारी ढंगले काम गरिदिनुस् भन्ने हो । भोलि दबाब नै आउँदैन भनेर भन्न सक्दिनँ, आउला पनि । किनभने यो घटना नै राजनीतिक व्यक्तिसँग सम्बन्धित छ । म यहाँ बसुन्जेल ऐन–कानुनको अधीनमा रहेर काम गर्ने हो, कसैको दबाबको अधिनमा बसेर काम गरिदैन ।

द्वन्द्वकालीन मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने आवाज पनि छ । त्यस्तो आवाजको आवश्यकता र औचित्य तपाईं कत्तिको देख्नुहुन्छ ?
राज्यले न्याय दिएन भने अन्तर्राष्ट्रिय क्षेत्रमा जाने अधिकार सबैलाई छ । मानिस जहाँ न्याय पाउँछ, त्यहाँ जान्छ । त्यसैले जानु हुन्छ र हुँदैन म भन्दिनँ । तर, म यो समस्याको समाधान देशभित्रै देख्छु । द्वन्द्वपीडितहरू यति व्यावहारिक हुनुहुन्छ कि समस्या समाधानका थुप्रै उपाय उहाँहरू आफैंसँग छ । कतिपयले त राज्यले न्याय दिन ढिला गरेका कारण गाउँ–घरमा हामी आफ्नै किसिमले मेलमिलाप गरेर बसेका छौँ भन्नुहुन्छ । उहाँहरू अब यसलाई भत्काउने काम नगर्नुस्, घाउ बल्झाउने काम नगर्नुस् भन्नुहुन्छ ।

पीडितहरूलाई साधन बनाएर एनजीओ, आईएनजीओहरूले धन्दा चलाएको पनि सुनिन्छ । तपाईं यसलाई कसरी लिनुहुन्छ ?
यसलाई जसरी नकारात्मक बनाइरहेका छौँ नि, त्यसरी म लिदिनँ । एनजीओ, आईएनजीओ भनेको ‘वाचडग’ हो । जनताको अधिकारका लागि कसैले बोल्छ भने त्यसलाई अन्यथा लिनु हुँदैन । यदि कसैले द्वन्द्वपीडितको नाममा वा उनीहरूलाई प्रयोग गरेर गलत काम गरिरहेको छ भने त्यो गलतै हो । पीडितले न्याय पाउनुपर्छ भनेर कसैले पहल गर्छ भने त्यसलाई अन्यथा लिनु हुँदैन । भोलि जोसुकैको पनि मानवअधिकार हनन हुन सक्छ । उनीहरूको पक्षमा बोलिदिने मान्छे भएन भने के होला ? नेपालको द्वन्द्वलाई संस्थागत रूपमा स्थापना गर्ने काम गरेको छ भने उसलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ । होइन भने मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको पक्षमा बोल्नेहरूलाई हामीले नकारात्मक रुपमा लिनु हुँदैन ।

आयोगमा उजुरी गरेका द्वन्द्वपीडितहरूको गोपनियता कायम गर्नेबारे तपाईंहरू कत्तिको जिम्मेवार हुनुहुन्छ ?
हामी यसमा निकै जिम्मेवार छौँ । यो पीडित हो र यो पीडक हो भनिदियो भने ज्यानको सुरक्षामा सवाल आउन सक्छ । त्यसैले हामीले गर्ने अध्ययन, अनुसन्धान निकै गोप्य हुन्छ । यदि कुनै कर्मचारीमार्फत गोपनीयता उल्लंघन हुन्छ भने हामी उसलाई कारबाही गर्छौ । आयोगले द्वन्द्वपीडितको न्यायका लागि काम गर्ने भएकाले यसमा हामी निकै संवेदनशील छौँ । यस्तो बेलामा सबैले आयोगलाई सहयोग गरिदिनुपर्छ ।