आवरण
जसले कोरोना जिते
कोभिड–१९ व्याधिबाट निको हुने नेपालीका कथाअ
- नारायण खड्का,जनक तिमिल्सिना,महेश तिमिल्सिना,नवीन पोखरेल
फ्रान्समा कोभिड–१९ संक्रमण बढ्न थालेपछि कलेजहरू बन्द भए, अनलाइन शिक्षण सुरु हुन थाल्यो । आफ्नो कलेजले पनि अनलाइन पढाइ सुरु गर्ने भएपछि मार्च दोस्रो साता काठमाडौंकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठले घर फर्किने निधो गरिन् । त्यसैअनुसार ४ चैतमा उनी दोहाको हमाद विमानस्थल हुँदै काठमाडौं ओर्लिइन् । काठमाडौं आएको ४ दिनपछि आफूसँगै आएका भियतनामी साथीलाई कोभिड–१९ पोजेटिभ देखिएको जानकारी पाएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थ्रोट स्वाब परीक्षण गराइन् । ९ चैतमा भएको परीक्षणबाट उनमा पनि पोजेटिभ देखियो । त्यसपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उनको उपचार सुरु भयो । त्यहाँ २७ दिन बिताएपछि उनी पूर्ण निको भएर गत शनिबार घर फर्किएकी छिन् । आइतबारसम्म प्रसिद्धीसहित १९ वर्षदेखि ६५ वर्षसम्मका ४ जना कोभिड–१९लाई जितेर घर फर्किसकेका छन् ।
अमेरिकामा ‘ड्रिम होलिडे’ सकेर फर्किने बित्तिकै मेलबर्नमा बसोबास गर्दै आएकी सन्जिता न्यौपानेलाई मार्च तेस्रो साता सञ्चो भएन । महामारी फैलिरहेको बेला विसन्चो भएपछि उनी पिरोलिइन् । आफूमा देखिएका लक्षण कोभिड–१९ सँग मिल्ने देखिएपछि उनले जाँच गराइन् । नभन्दै पोजेटिभ देखियो । त्यसपछिका १४ दिन उनले आइसोलेसनमा बिताइन् र भाइरसलाई जितेरै छाड्न् ि। उनको तीन पटकसम्मको नतिजा नेगेटिभ आइसकेको छ । सन्जिताजस्तै विभिन्न देशमा रहेका दर्जनौं नेपालीले पनि कोभिड–१९ संक्रमणमाथि विजय प्राप्त गरिरहेका छन् । जसमध्ये अधिकांश चिकित्सक र नर्स छन् ।
भाइरसभन्दा बढी भयले यतिबेला समाजलाई गाँजिरहेको छ । तीव्र फैलिरहेको संक्रमणको जोखिम रोक्न ११ चैतदेखि नेपाल सरकारले मुलुकलाई लकडाउन गरेको छ । यस्तो अवस्थामा मानिसहरू घरभित्र त छन्, तर मानसिक रूपमा झनै भयभित छन् । तर, सावधानी, आत्मबल, खानपिन र उपचारजस्ता पक्षहरूमा ध्यान दिँदा यसलाई जित्न सकिने निको भएर फर्किएकाहरू बताउँछन् । ‘आत्मबल नघटाउनुहोस्’ आइतबार मात्रै निको भएर घर फर्किएका कैलालीका २१ वर्षीय राज विकले भने, ‘सचेत हुँदै निको हुन्छ भन्ने विश्वास राख्नुहोस् । अवश्य निको हुन्छ ।’ यस्तै अनुभव र सन्देश दिइरहेका छन्, विभिन्न देशमा संक्रमित भएर निको भएका नेपालीहरू । आफ्नो अनुभव समाजको हितका लागि सार्वजनिक गर्नेहरूमा नर्स तथा चिकित्सक बढी छन् ।
उपचारमा संलग्न चिकित्सकहरूले पनि बिरामीले आत्मबल बलियो बनाउँदा कोभिड–१९ लाई जित्न सहज हुने बताइरहेका छन् । संक्रमण भएर निको भएका बेलायतस्थित सन्डरल्याण्ड अस्पतालका कन्सल्टेन्ट फिजिसियन एवं मिर्गौला रोग विशेषज्ञ डा. सर्जु श्रेष्ठ अहिलेसम्म कोरोनाको औषधि, खोप नबनेकाले ‘सोसल डिस्ट्यान्सिङ’, स्वास्थ्य व्यवस्थापन, पर्याप्त पानी र स्वस्थकर खानेकुरा नै सबैभन्दा उत्तम उपाय भएको बताउँछन् । ‘यो रोग लागेमा लापरबाही गर्नुहुँदैन । आत्मबल दह्रो बनाउनुपर्छ,’ उनी सुझाव दिन्छन् । संक्रमणका बेला मानिसलाई मनोवैज्ञानिक रूपमा पनि ठूलो सहयोग खाँचो हुने उनले बताए । नेपालसहित विभिन्न देशमा कोभिड–१९ लाई जितेका प्रतिनिधि नेपालीका अनुभव यहाँ प्रस्तुत छ :
राज विक, नेपाल

१२ जनाको संयुक्त परिवार भएका कैलालीको लम्की चुहा नगरपालिकाका राज विक रोजगारीका लागि गत कात्तिकमा मुम्बई गए । त्यहाँ होटलमा काम गर्दै थिए । यसैबीच भारतमा पनि कोभिड–१९ को संक्रमण देखिन थाल्यो । उनले काम गर्ने होटल केही दिनका लागि बन्द भयो । केही समयमै होटल खुल्ने बताइए पनि उनलाई बस्न मन लागेन र ८ वैशाखमा त्यहाँबाट हिँडे ।
१० गते राति ११ बजे गौरीफन्टा नाका पुगे, जहाँ भारतबाट फर्किएकाहरूको भीड थियो । ११ गतेबाट नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो र त्यस अगावै सीमानाका बन्द भएका थिए । ११ चैतको बिहान सीमाबाट प्रवेश नदिने भनेपछि आन्दोलनकै वातावरण बनेको थियो । त्यसपछि रातको साढे १ बजेतिर नेपाल छिर्न दिइयो । ‘त्यहाँबाट बसको व्यवस्था गरिएको रहेछ, पैसा भने आफैंले तिर्नुपर्यो,’ उनले सुनाए । १२ चैतको बिहान ७ बजेतिर उनी घर पुगे । त्यसपछि उनलाई प्रतापपुरको क्वारेन्टाइनमा पठाइयो, जहाँ उनीसहित ४५ जनाजति विदेशबाट आएकाहरू थिए । सबैको स्वाब संकलन गरी परीक्षणमा पठाइयो ।
एघार दिनको क्वारेन्टाइनको बसाइपछि अचानक उनलाई एम्बुलेन्समा हालेर धनगढी लगियो । २२ गते उनको रिपोर्ट पोजेटिभ आयो, उनी आफूले पनि संक्रमित भएको थाहा पाए ।
‘मलाई खासै केही पनि लक्षण देखिएको थिएन, न ज्वरो थियो, न खोकी । न श्वास फेर्न नै गाह्रो भएको थियो,’ उनी भन्छन्, ‘१६ दिन राम्रै भयो । नर्स र डाक्टरहरूले राम्रो सहयोग गर्नुभयो । मोबाइलमा सामाजिक सञ्जाल हेर्दै र च्याटमा साथीहरूसँग कुरा गर्दै दिन बित्यो ।’ स्वास्थ्यमा केही समस्या नदेखिएका कारण आफूलाई डर पनि नलागेको उनले बताए ।
१६ दिन आइसोलेसनमा बसेपछि दुई पटक स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनी आइतबार डिस्चार्ज भए । एक सातासम्म घरमै आइसोलेसनमा बस्न उनलाई चिकित्सकले सुझाव दिएका छन् । ‘अहिले पनि अलग कोठामा बसिरहेको छु, परिवारसँग धेरै घुलमिल गरेको छैन,’ उनल थपे । उनले तनाव नलिन सबैलाई अनुरोधसमेत गरे ।
सन्जिता न्यौपाने, अस्ट्रेलिया

अस्ट्रेलियामा बस्दै आएकी सन्जिता न्यौपाने स्वास्थ्यकर्मी हुन् । दुई छोरीकी आमा उनी श्रीमान्सहित गत मार्च तेस्रो साता अमेरिकाबाट होलिडे मनाएर फर्किएकी थिइन् । लगत्तै उनलाई सन्चो भएन ।
भिक्टोरियाको मेलबर्नमा बस्ने उनलाई मार्च २३ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो । चिकित्सकको सल्लाहमा आफ्नै घरमा बसेकी उनलाई परिवारको हेरचाह र खानपिनमा पुर्याएको सजगताले भाइरसलाई जित्न मद्दत पुर्यायो । ‘भाइरस लाग्दैमा केही भइहाल्ने वा मरिने भन्ने होइन् रहेछ,’ उनले भनिन्, ‘तर पनि यस भाइरसको ‘विण्डो पिरियड’ ५ देखि ७ दिनसम्म चाहिँ अत्याउने रहेछ ।’ यस्तो बेला शरीरमा अप्ठ्यारो हुने, टाउको अत्यन्तै भारी हुने, सास फेर्न गाह्रो महसुस हुने, कम्मरमुनिको भाग अत्यन्तै दुख्नेलगायतका समस्या आउने भएकाले त्यसमा नआत्तिन उनले सुझाव दिइन् ।
संक्रमित भएर आइसोलेसनमा बसेदेखि नै उनलाई आफूले काम गर्ने अस्पतालबाट चिकित्सकले नियमित स्वास्थ्य जानकारी लिन सम्पर्क गर्ने गरेका थिए । ‘यहाँ संक्रमण भएको व्यक्तिलाई स्वास्थ्य निकायबाट पुर्याउने सहयोग पनि धेरै राम्रो हुँदोरहेछ,’ उनले भनिन् ।
तर, उनी आफू कसरी संक्रमित भइन् भन्ने निर्क्यौलचाहिँ गर्न सकेकी छैनन् ‘संक्रमण हुने गरी कसैको सम्पर्कमा आएको महसुस थिएन तर अचानक देखियो,’ उनी भन्छिन्, ‘धन्न छोरीहरू र श्रीमान्लाई यो संक्रमण देखिएन । हामी ठूलालाई त केही भइहाले आफ्नो ख्याल राख्न सक्छौं तर बालबालिकालाई लागेमा समस्या हुनसक्छ ।’
चितवनको टाँडीबाट १२ वर्षअघि अस्ट्रेलिया पुगेकी उनी केही समय सिड्नी बसेर मेलबर्न बसाइ सरेकी हुन् । नेपालमै छँदा भरतपुर अस्पतालमा २ वर्ष नर्सका रूपमा काम गरेर उनले अस्ट्रेलियामै नर्सिङमा मास्टर्स गरिन् । अहिले भिक्टोरियाको नर्दन अस्पतालमा सिनियर नर्सको रूपमा कार्यरत छिन् । कोरोना भाइरस लागेका नेपालीमध्ये खुलेर बाहिर आउनेमध्येकी उनी एक हुन् । अस्ट्रेलियामा अहिलेसम्म ८ जना नेपालीलाई संक्रमण पुष्टि भइसकेको भए पनि धेरैजसोले आफूलाई सार्वजनिक गर्न चाहेका छैनन् । उनी भने नेपाल सरकारले आयोजना गरेको स्वास्थ्य परामर्श कार्यक्रममा समेत सहभागी भइसकेकी छिन् । ‘म आफैं स्वास्थ्यकर्मी भएकाले जनचेतना फैलाउनु मेरो कर्तव्य पनि हो ।’
उनी कोरोना पनि अन्यजस्तै सामान्य भाइरस भएको दाबी गर्छिन् । ‘तर, यसको खोप वा उपचार नभएकाले त्रासको वातावरण बनेको हो’, उनी भन्छिन्, ‘त्यसैले आफ्नो हेरचाह गर्नु र आवश्यकताबिना घरबाहिर ननिस्किनु नै सबैभन्दा महत्वपूर्ण उपचार हो ।’ उनी भाइरस लाग्दैमा केही नहुने तर लाग्न नदिनका लागि सरकारले सुझाएका उपाय र स्वयंले आफ्नो ख्याल राख्नु नै उत्तम उपाय भएको बताउँछिन् ।
सुनिता ढुंगाना, बेलायत

१८ वर्षदेखि बेलायत बस्दै आएकी सुनिता ढुंगाना कोभिड–१९ लाई जित्ने अर्की नेपाली हुन् । लन्डनको इलिङमा बसोबास गर्ने उनी इलिङ हस्पिटलको एक्युट रेस्पीरेटोरी विभागमा कार्यरत नर्स हुन् ।
४६ वर्षीया ढुंगानालाई पछिल्ला १८ वर्षमा इबोला, स्वाइन फ्लुजस्ता रोगका बिरामीको उपचारमा खटिँदा पनि कहिल्यै ज्वरो आएको याद छैन । कोरोना भाइरस फैलिएसँगै उनले काम गर्ने श्वास–प्रश्वासकै रोगसँग सम्बन्धित वार्डमा शंकास्पद र कोभिड संक्रमित बिरामीहरू भर्ना हुन थाले । केही दिनमै अस्पतालको साइड वार्ड कोभिड वार्डमा परिणत भयो ।
१२ घण्टा लामो ड्युटी हुने भएकाले मार्च २८ मा पनि उनी बिहानै घरबाट निस्किइन् । ‘ड्युटीमै थिएँ, केही असहज अनुभव भयो । टाउको पनि दुख्न थाल्यो’ उनले भनिन्, ‘सुरुमा आफू राति नसुतेका कारण यसो भएको हुनसक्छ भनेर ध्यान दिइनँ । ज्वरो नै आएपछि चेक गरेँ । ३८ डिग्री सेल्सियस पुगेको रहेछ ।’ लगतै इन्चार्जलाई उनले यो कुरा सुनाइन् ।
‘केही समय रेस्ट गर्नुहोस् । चिया कफी पिउनुहोस्,’ नर्सिङ इन्चार्जले भनिन् । केही समय रेस्ट गरिन्, कफी खाइन् । प्यारासिटामोल पनि लिइन् । अलि सहज भएपछि पुनः काममा फर्किइन् । तर, फेरि ज्वरो देखियो, चक्कर आउन थाल्यो, एकदमै कमजोर अनुभव हुन थाल्यो । त्यो सुनाएपछि डाक्टर र नर्सिङ इन्चार्ज दुवैले संक्रमण भएको हुन सक्ने भन्दै आइसोलेसनमा बस्न सुझाए । घर ४ जना साना बच्चा पनि भएकाले आफ्नो कोठामा ‘आइसोलेसन’ मेन्टेन गरिन् । ९ दिनसम्म हनहनी ज्वरो आइरहयो, ३ दिनपछि निरन्तर खोकी लाग्न थाल्यो । चिकित्सकको सल्लाहअनुसार उनले ४/४ घण्टाको फरकमा १ हजार एमजीको प्यारासिटामोल लिन थालिन् । ‘नियमित तापक्रम, अक्सिजनको लेभल चेक गरिरहें र त्यो डाक्टरहरूलाई अपडेट गरिरहें,’ उनी सुनाउँछिन् ।
डिस्पोजेबल भाडामा दूरी कायम गरेर परिवारका सदस्यले उनलाई ढोकामा खाना राखिदिन्थे । त्यसबाहेक श्रीमान्ले ज्वानो, मेथी, अदुवा, बेसार राखेर झोल बनाइदिन्थे । त्यस अवधिमा उनले झोल खानेकुरा र पानी धेरै खाइन् । परिवारको सहयोग र केयरले आत्मबल बढायो । अन्ततः भाइरसलाई जितेर १८ अप्रिलमा काममा फर्किइन् ।
‘यो एकदमै संक्रामक रोग हो, तर ८० प्रतिशत मानिस निको भएर घर फर्किएका छन् । कडाइपूर्वक आइसोलेसन पालना गर्नुहोस्, हाइजिन मेन्टेन गर्नुहोस्’ उनी भन्छिन्, ‘जसलाई जतिबेला पनि संक्रमण हुनसक्छ, त्यसैले लुकाउनु हुँदैन् । स्वस्थ खाना, प्रसस्त पानी, झोल खानेकुरामा ध्यान दिँदा त्यसले फाइदा गर्छ ।’ आत्तिन र भयभित नहुने भन्दै संक्रमणबाट बच्न सबैभन्दा बढी ध्यान सरसफाइमा दिनुपर्ने र मिचीमिची हात धुनुपर्नेमा उनी जोड दिन्छिन् ।
डा. सर्जु श्रेष्ठ, बेलायत

बेलायतस्थित सन्डरल्याण्ड अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं मिर्गौला रोग विशेषज्ञ डा. सर्जु श्रेष्ठ कोभिड–१९ भाइरस संक्रमण भएका बिरामी जाँच्ने क्रममा आफैं संक्रमित भए । मार्च दोस्रो सातासम्म बेलायतमा महामारी फैलिसकेको थिएन । डा. श्रेष्ठ कार्यरत अस्पतालमा एकाध केसमात्र थिए । त्यो समयमा मास्क र पञ्जामात्र लगाएर बिरामी हेरेकाले आफू संक्रमित हुन पुगेको उनको अनुमान छ ।
यसअघि कहिल्यै बिरामी परेको अनुभव नभएका उनले जीवनमै पहिलोपटक मृत्युबारे सोच्न पुगे । सुरुका दुई दिन पखाला लागेर तेस्रो दिनदेखि ज्वरो पनि थपिएपछि उनी चिन्तित बने । चौथो दिन निकै असहज भएपछि पहिलोपटक ‘लाइफ इन्स्योरेन्स’ का बारे परिवारलाई अवगत गराएको उनले सुनाए । उनको यस्तो कुरा सुनेर परिवारजन पनि डराएका थिए । पाचौं दिनदेखि भने ज्वरो कम भएर बिस्तारै सुधार महसुस हुन थाल्यो ।
कोरोना संक्रमण हंँदा जीवनको महत्व झन् बढी बुझ्न पाएको अनुभव उनी सुनाउँछन् । ‘अहिलेसम्म आफूले गरेका राम्रा नराम्रा कामको आत्ममूल्यांकन भयो’, उनले भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा त अब जीवनलाई त्यत्तिकै खेर फाल्ने होइन, रचनात्मक क्रियाकलापमा लगाउनुपर्छ भन्ने सोच आएको छ ।’
विगत दुई दशकदेखि बेलायतमा चिकित्सक रहेका श्रेष्ठले यसअघि ‘स्वाइन फ्लु’, ‘बर्ड फ्लु’ का बिरामी हेरे । तर कोभिड–१९ पृथक र खतरनाक लागेको उनी बताउँछन् ।
‘सोसल डिस्ट्यान्सिङ’, हाइजिन मेन्टेन, पर्याप्त पानी र स्वस्थकर खानेकुरा नै संक्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाय भएको उनी बताउँछन् । संक्रमण भइहालेमा लापरबाही नगर्न र आत्मबल दह्रो बनाउन उनको सुझाव छ । यस्तो बेला मानिसलाई मनोवैज्ञानिक रूपमा पनि ठूलो सहयोग खाँचो पर्ने उनले बताए ।
यशोदा कैनी, डार्टफोर्ड, बेलायत

४६ वर्षीया यशोदा कैनी बेलायतको डार्टफोर्डको लिभिङ्गस्टोन अस्पतालमा प्रशासनिक काम गर्छिन् । उनका श्रीमान् डा. बच्चुकैलाश कैनी क्वीन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक एवं पूर्वकाउन्सिलर हुन् ।
श्रीमान्–श्रीमती नै अस्पतालमा काम गर्छन् । उनीहरूलाई संक्रमण जोखिमबारे जानकारी थियो र आवश्यक सतर्कता अपनाएका थिए । तर, यशोदा संक्रमित भइन् । तर, आफ्नो साहस, सकारात्मक सोच र सबैको मायाले १२ औं दिनपछि संक्रमण निको भएको उनी बताउँछिन् ।
‘मलाई अप्रिल ९ देखि ज्वरो आएको थियो । तीन दिनसम्म ज्वरो निको भएन । त्यसपछि खोकी लाग्न थाल्यो । श्वास–प्रश्वासमा समस्या आउन थाल्यो । एक दुई दिन पखाला लाग्यो । जिउ दुख्ने र एकदम कमजोरी महसुस हुन थाल्यो’, उनले स्मरण गरिन्, ‘श्वास फेर्न गाह्रो हुने भएपछि चिकित्सकको सुझावअनुसार मलाई स्थानीय अस्पताल भर्ना गरियो । अस्पतालबाट परीक्षण गर्दा नतिजा पोजेटिभ आयो । केही समयको अस्पताल बसाइपछि अहिले घरमा आराम गर्दैछु ।’
यशोदाको बुझाइमा संक्रमितले आइसोलेसनको नियम पूर्णरूपमा पालना गर्नुपर्छ । तागतिला खाना र धेरै झोलिलो पदार्थ खानुपर्छ । आत्मविश्वासपूर्वक मन दरिलो बनाउनुपर्छ । आफूलाई सामान्य ठान्नुपर्छ । परिवारको सहयोग अत्यन्त आवश्यक छ । उनका श्रीमान् र दुई छोराछोरी पनि अहिले पूरै आइसोलेसनमा छन् । ‘हामीले यो संक्रमण निको नभएसम्म बाहिर हिँडडुल गरेका छैनौं । घरमा आवश्यक कुराहरू सबै अनलाइन सेवाबाट खरिद गर्दैछौं’, उनी भन्छिन्, ‘महामारीको चापको बाबजुद पनि यहाँको एनएचएसको १११ सेवा, स्थानीय चिकित्सक (जीपी) को परामर्श सेवा र डार्टफोर्डको स्थानीय डारेन्ट भ्याली अस्पतालको सेवा गुणस्तरीय लाग्यो ।’
पदम (कपुर) राणा, बेलायत

दक्षिण पूर्वी लन्डन, प्लमस्टिडका व्यवसायी हुन्– पदम (कपुर) राणा । बेलायतमा करिब दुई दशकदेखि बस्दै आएका उनको आफ्नै रेस्टुराँ व्यवसाय छ ।
बेलायतमा महामारीको त्रास भर्खर सुरु हुँदै गर्दा उनलाई सामान्य ज्वरो र निरन्तर सुक्खा खोकी देखियो । एक सातासम्म औषधि खाँदा पनि निको भएन । त्यसपछि एम्बुलेन्सलाई खबर गरे । केहीबेरमै स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स घरमै आइपुग्यो । सामान्य जाँच गरी केही एन्टिबायोटिक दिएर थप एक दिन हेरौं भन्दै फर्किए । तर, पनि कम नभएपछि एम्बुलेन्स बोलाएर उनी सिधै क्वीन एलिजाबेथ अस्पताल पुगे ।
‘अस्पताल पुगे लगत्तै छातीको एक्सरे गर्दा निमोनिया देखियो । कोरोना संक्रमणको परीक्षणमा पनि पोजेटिभ नतिजा आयो’, उनी सम्झन्छन् ।
सुरुमा आफैं आइसोलेसनमा बसेका ब्रेकफास्ट खाँदै गर्दा वान्ता भएपछि अस्पताल जानुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए उनी । अस्पतालमा सबै परीक्षणपछि निमोनियाको औषधि दिएर छुट्टै वार्डमा राखियो । सुरुका दिनमा त उनलाई निकै गाह्रो महसुस भयो, राम्ररी खान पनि सकेनन् । तर, अर्को दिन रोग लागिसकेपछि अब जसरी हुन्छ यसलाई जितेर निको हुनुपर्छ भन्ने दृढ संकल्प लिए ।
‘त्यसपछि मैले नरुचे पनि खानेकुरा खान थालें । रोग प्रतिरोधी क्षमता बढाउनकै लागि खाना, फलफूल र जुस खान छोडिनँ’, उनले भने, ‘सुरुका दुई दिन गाह्रो भए पनि अस्पतालमै योग गर्न थालेँ ।’
अपेक्षा गरेभन्दा चाँडो उनमा सुधारका लक्षणहरू देखियो र २३ मार्चमा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् उनी ।
बिरामी नहुँदै स्वास्थ्यको हेरविचार गर्ने, पोसिलो खानेकुरा खाने र व्यायाममा ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन् उनी । आफू बलियो भए र मन बलियो पारेमा रोग जित्न सकिने उनको अनुभव छ ।