You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

लगानी सम्मेलन आजदेखि ९ खर्बका परियोजना सोकेसमा

दुई दिन चल्ने सम्मेलनमा ५५ देशका १६ सयभन्दा बढी सहभागी हुादै
- सीमा तामाङ

(काठमाडौं)
मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार सुरु हुँदै छ । सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ९ खर्ब बराबरका परियोजना प्रस्तुत गरिने बोर्डको भनाइ छ । केही दिनअघिदेखि नै मुलुकमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आगमन सुरु भइसकेको बोर्डले बताएको छ ।
दुई दिन चल्ने सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् । ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना रहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जनाए । संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । लगानी बोर्डको ५८औं बैठकले मंगलबार तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) लगायतका सरकारी तथा निजी गरी १ सय ४८ परियोजनाको सूची स्वीकृत गरेको छ ।
त्यसपछि काठमाडौं तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विकास परियोजना र डाटा सेन्टर प्रोजेक्ट थपिएको बोर्डले जनाएको छ ।
२४ सयभन्दा बढीलाई निम्ता पठाइएकामा १६ सयभन्दा बढी सहभागी आउने सुनिश्चित भइसकेको लगानी बोर्डका प्रवक्ता उपाध्यायको भनाइ छ । सबैभन्दा बढी ३ सय ८५ जना स्वदेशी लगानीकर्ताको सहभागिता निश्चित भइसकेको छ । चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदै छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।
पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहनेछ ।सम्मेलनमा २३ स्टल हुनेछन् भने २० परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ । मार्केट साउन्डिङका लागि ९, पहिचान चरणका ३१ परियोजना सोकेस गरिने, वित्तीय व्यवस्थापनका लागि १८, निजी क्षेत्रका लगानीका लागि १४, सोकसका लागि २७ र निजी क्षेत्रका ३१ परियोजना सोकेस गरिनेछ । पहिलो दिन उद्घाटन सत्र र अन्य दुई मुख्य सत्र हुनेछन् । दोस्रो दिन भने समानान्तर रुपमा ११ सत्र सञ्चालन हुने बोर्डका प्रवक्ता उपाध्यायले बताए । ‘लगानी सम्मेलनका सबै तयारी सकियो, लगानीकर्ता पनि केही दिनअघिदेखि नै आउन थालिसकेका छन्,’ उनले भने, ‘कार्यक्रम सत्रहरू पनि तयार छन्, परियोजना तयार छन् ।’ नेपालमा लगानीमैत्री वातावरण बनिरहेको र ऐन–कानुन संशोधन गरिएको उनको भनाइ छ ।
लगानी सम्मेलनले बहुआयामिक उपलब्धि दिने अर्थमन्त्री वर्षमान पुनले बताए । ‘सम्मेलनमा विश्वव्यापी र स्वदेशी लगानीकर्तालाई एउटै थलोमा भेट गराउने तथा अन्तर्क्रिया गराउँछौं,’ उनले भने, ‘कानुनी र व्यवस्थापकीय रूपले लगानीका लागि सरल वातावरण बनाउँछौं । सफल व्यवसाय तथा असल अभ्यासलाई विश्वमाझ साझा गर्छौं ।’ सम्मेलनमा आँकडाका हिसाबले भन्दा लगानी आउने किसिमको हस्ताक्षर हुन्छ भन्ने अपेक्षा राखिएको अर्थमन्त्री पुनको भनाइ छ ।
‘सम्मेलन एउटा महोत्सव हो, त्यसमा केही परियोजनामा आशय माग गर्छौं, परियोजनाहरू सोकेस गर्छौं,’ उनले भने, ‘सम्मेलनपछि लगानी भित्र्याउनभन्दा धेरै काम गर्नुपर्छ, गर्छौं पनि ।’ लगानीलाई सहज बनाउनकै लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय लगानीकर्ताको सुझाव, हाम्रो अनुभवबाट आवश्यकता ठानिएको केही ऐन संशोधन गर्ने निर्णय सरकारले गरिसकेको छ । उक्त अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगिसकेको र सम्मेलनभित्रै पास हुने उनको भनाइ छ । अध्यादेश प्रमाणीकरणले पनि लगानीकर्तालाई नेपाल अझ लगानीमैत्री भएको प्रमाण दिने उनले जनाए । सोभरेन क्रेडिट रेटिङको कामसमेत सुरु गरिसकेको केही महिनाभित्र सकिने अर्थमन्त्री पुनले बताए । नेपालको अर्थतन्त्र, लगानी नीति, लगानीका सम्भाव्य क्षेत्र विश्वमाझ खुला भएको, उदार नीति अपनाएको र विगतभन्दा अझ लगानीमैत्री वातावरण एवं नीति–नियम बन्ने उनले जनाए ।
यही वैशाख १० मा बसेको मन्त्रिपरिषद् बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१’ लाई अध्यादेशमार्फत ल्याएको हो । ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सिफारिस गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । सरकारले १० ऐनका विभिन्न व्यवस्थामा संशोधन गरेर अध्यादेश ल्याएको हो । यसमा भूमिसम्बन्धी ऐन, २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, वन्यजन्तु संरक्षण ऐन, २०२९, जग्गा प्राप्ति ऐन, २०३४, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, वन ऐन, २०७६ र औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न लागेको हो ।
सरकारका विभिन्न मन्त्रालय र निकायले यसअघि ८ ऐनका विभिन्न व्यवस्थामा संशोधन गर्नुपर्ने सिफारिस कानुन मन्त्रालयमा पठाएका थिए । कानुन मन्त्रालयले थप अध्ययन र परामर्श गरेर १० ऐन संशोधन गर्नुपर्ने निष्कर्ष निकाल्दै अध्यादेश तयार पारेर सोमबारको मन्त्रिपरिषद्मा पुर्‍याएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार अध्यादेशका रूपमा जारी गरेपछि त्यहाँ गरिएका व्यवस्था कानुनका रूपमा तुरुन्त प्रारम्भ हुनेछ । लगानी सम्मेलन सुरु हुनुअघि नै अध्यादेश प्रमाणीकरण भइसक्ने अर्थमन्त्री पुनले बताए ।

मुख्य पृष्ठ

इलाममा ६०, बझाङमा ४९ प्रतिशत मतदान

- पर्वत पोर्तेल,लक्ष्मी गौतम,वसन्तप्रताप सिंह

(इलाम) / (बझाङ)
इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा कुल १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ जना मतदानमा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा भने ४९.१२ प्रतिशत मतदान भएको छ ।
इलाम–२ का मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार ३५ हजार १ सय ३५ पुरुष र ३४ हजार १ सय ५० महिला र २ जना अन्य लिंगका मतदाता मतदानमा सहभागी भएका थिए । यहाँ ७९ मतदानस्थलमा १ सय ४९ केन्द्र तोकिएको थियो । शनिबार अबेर रातिसम्म मतपेटिका संकलन भइरहेको छ । पश्चिमी क्षेत्रको फाकफोकथुम, दक्षिणतिरको चुलाचुली र माङ्सेबुङलगायत विकट क्षेत्रबाट मध्यरातसम्म मतपेटिका सदरमुकाम पुर्‍याउने योजना प्रशासनको छ । सबै केन्द्रबाट मतपेटिका संकलन र सर्वदलीय बैठकपछि आइतबार बिहानदेखि मात्रै गणना सुरु गरिने घिमिरेले बताए ।
एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
पूर्वसभामुख तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ उक्त क्षेत्रमा अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका थिए । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डम्बर खड्का उठेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी ७ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
अघिल्लो निर्वाचन २०७९ मंसिर ४ मा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । नेम्वाङले ३० हजार २० मत पाएका थिए । माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनबाट उठेका खड्काले १९ हजार ६ मत पाएका थिए । समानुपातिकतर्फ एमालेले ३० हजार ६ सय ८१ मत पाउँदा कांग्रेसले २४ हजार ६ सय ८६ मत पाएको थियो । यस पटक एमाले र माओवादीले गठबन्धन गरेका छन् भने कांग्रेस एक्लै प्रतिस्पर्धामा छ । यो निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको वडा १० बाहेक सबै, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वडा पर्छन् ।

हेलिकोप्टरबाट मतपेटिका ल्याएपछि गणनाको तयारी
बझाङ १ (१) को प्रदेशसभा सदस्य उपनिर्वाचनमा शनिबार साँझसम्म संकलित विवरणअनुसार ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीले बताए । यो क्षेत्रमा ६१ हजार ७ सय ४८ जना मतदाता थिए । ‘मतदान अधिकृतहरू मतपेटिका ढुवानीका लागि बाटोमा भएको र केही ठाउँमा टेलिफोन सम्पर्क हुन नसकेका कारण सम्पूर्ण विवरण आइतबारसम्म मात्रै आउँछ,’ उनले भने ।
७४ वटा मतदानस्थलमा रहेका ९३ केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ । मतदान व्यवस्थित र सुरक्षित बनाउन १५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
शनिबार साँझसम्म साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा संकलन गरिसकिएको छ । साइपालको काँडा, धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका आइतबार बिहान हेलिकोप्टरमार्फत ढुवानी गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै मतपेटिका सदरमुकाम पुगिसकेपछि आइतबार दिउँसोबाट गणना सुरु हुने कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहले बताए । ‘गणना सुरु भएपछि ३० घण्टाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘एकै पटक दुई समूहले गणना गर्ने गरी कर्मचारी तयारी अवस्थामा राखेका छौं ।’
उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यहाँ कांग्रेसबाट सिंहका छोरा अभिषेक उम्मेदवार छन् भने एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । २०४८ पछि यो क्षेत्रमा कांग्रेसका तीन र एमालेका उम्मेदवारले चार पटक जितेका थिए ।

मुख्य पृष्ठ

रोहितको आक्रामक शतकमा नेपालको जित

वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबारको खेलमा शतकीय पारी खेलेका कप्तान रोहितले आफ्नो उत्कृष्ट इनिङ्स आउन बााकी रहेको बताए
- विनोद पाण्डे

(काठमाडौं)
नेपाल भ्रमणमा आएकामध्ये हालसम्मकै सबैभन्दा बलियो क्रिकेट टोलीमा पर्छ वेस्ट इन्डिज ‘ए’ । यही टिमबाट कम्तीमा दुई खेलाडी अर्को महिना हुने ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिज टोलीमा स्थान बनाउन खोजिरहेका छन् । १० जना खेलाडीले त यसअघि नै राष्ट्रिय टिमबाट खेलिसकेका पनि हुन् । शनिबार घरेलु दर्शकले खचाखच कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आक्रामक शतक हाने । तीव्र गतिका बलर ओबेड म्याकोयलाई १८औं ओभरको सुरुवातमै लगातार चौका र दुई रन हान्दै उनले ४७ बलमा शतक पूरा गरेका हुन् । ओबेड तिनै बलर हुन्, जसले दुई वर्षअघि भारतविरुद्धको
ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १७ रन खर्चेर ६ विकेट लिएका थिए । शतकप्रेरित घरेलु टोली नेपालले ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा ४ विकेटको स्मरणीय जित पनि हात पार्‍यो ।
रोहितकै शतकीय पारीमा नेपालले २ सय ५ रनको लक्ष्य दुई बल बाँकी छँदै पूरा गरेको थियो । ट्वान्टी–२० मा रोहितको यो पहिलो शतक हो । जुन स्थिति र प्रतिद्वन्द्वी थियो, त्यस हिसाबमा रोहितको यो उत्कृष्ट इनिङ्स थियो । आफूले नेपालको टिम सम्हालेयताको १५ महिनामा यो नै नेपाली खेलाडीको उत्कृष्ट इनिङ्स भएको भन्दै प्रशिक्षक मोन्टी देसाईले खुसी व्यक्त गरे । तर, रोहितले भने यसलाई नै आफ्नो उत्कृष्ट मान्न चाहेनन् । भने, ‘मेरो उत्कृष्ट इनिङ्स आउन अझै बाँकी छ ।’ २७ बलमा अर्धशतक पार गरेका उनले समग्रमा ५४ बलमा १ सय १२ रन बनाउँदा १० चौका र ६ छक्का प्रहार गरेका थिए । उनी १९औं ओभरको पाँचौं बलमा आउट भए । त्यसपछि आएका प्रतिश जिसीले पहिलो बलमै चौका प्रहार गरेपछि अन्तिम ओभरमा नेपाललाई जितका निम्ति ९ रन चाहिन्थ्यो । गुलसन झा र प्रतिशले पहिलो दुई बलमा १–१ रन लिएपछिको अर्को दुई बलमा गुलसनले लगातार चौका प्रहार गरे । गुलसन ४ बलमा ९ र प्रतिश २ बलमा ५ रन बनाई अविजित रहे ।
नेपालले यस जितसँगै ५ खेलको शृंखलामा अग्रता लिएको छ । अघिल्लो साता ओमानमा भएको एसीसी प्रिमियर कपमा नेपाल एसिया कपमा छनोट हुनबाट चुकेको थियो । निराशाजनक प्रदर्शनबाट दबाबमा रहेको नेपाली टिमको मनोबल शनिबारको उपलब्धिले एक महिनापछि हुने विश्वकपका लागि उच्च बनाउने प्रशिक्षक देसाईले बताए । नेपालले जुन ४ मा अमेरिकाको डालासमा नेदरल्यान्ड्सविरुद्ध खेलेर ट्वान्टी–२० विश्वकपको यात्रा सुरु गर्दै छ । जुन ११ मा फ्लोरिडामा श्रीलंकाविरुद्ध खेल्नेछ । त्यसपछि वेस्ट इन्डिज लाग्ने नेपालले सेन्ट भिन्सेन्टमा जुन १४ र १६ मा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ ।
‘फ्लोरिडाको विकेट यहाँको जस्तै छ । त्यो पृष्ठभूमिलाई हेर्ने हो भने निश्चय पनि आजको जितले ठूलो आत्मविश्वास दिन्छ,’ नेपाल भ्रमणमा आइदिएकोमा वेस्ट इन्डिजलाई विशेष धन्यवाद दिँदै प्रशिक्षक देसाईले भने, ‘वेस्ट इन्डिज आफैंले पनि यस शृंखलालाई विश्वकप तयारीका रूपमा लिएको छ ।’
ओपनरद्वय अनिल साह ९ बलमा ५ रन तथा कुशल भुर्तेल १२ बलमा १६ रनमात्र बनाई आउट भएपछि दबाबमा परेको घरेलु टिमबाट कप्तानी इनिङ्स खेल्न रोहित क्रिजमा आएका थिए । पछिल्ला तीन खेलमा शून्यमै आउट भएका भुर्तेलले ३ चौका प्रहार गरे । कुशल मल्ल पनि १५ बलमा १६ रन बनाई सस्तैमा आउट भए । उनले रनआउट हुनुअघि १ चौका र १ छक्का प्रहार गरेका थिए । विशाल लक्ष्यसहित मैदानमा उत्रेको नेपालले १० ओभरमा ८२ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । धर्मराएको नेपाललाई कप्तान रोहित र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ३३ बलमै ६४ रनको आक्रामक साझेदारी गर्दै उकासेका थिए । दीपेन्द्रले १८ बल खेल्दै २ चौका र १ छक्कासहित २४ रन बनाए । विवेक यादव ६ बलमा ७ रन बनाई आउट भए । वेस्ट इन्डिजका म्याकोयले ४ ओभरमा ३४ र म्याथ्यु फोर्डेले ४ ओभरमा ४९ रन खर्चेर समान २–२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले ५ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । पहिलो ४ ओभरमा ५० र पावर प्लेको पहिलो ६ ओभरमा ७७ रन जोडेर वेस्ट इन्डिजले आफ्नो आक्रामक शैली पेस गरेको थियो । एलिक एथान्जे र कप्तान रोस्टन चेजले इनिङ्स तानेपछि वेस्ट इन्डिज ‘ए’ ले विशाल स्कोर बनाएको हो । चेजले ७४ रन बनाए ।
अन्तिम ओभरमा दीपेन्द्रको बलमा आउट हुनुअघि उनले ४६ बल सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे । चेज अर्धशतक बनाएपछि मात्र खुलेर खेल्न लागेका थिए । अर्धशतक बनाएलगत्तै उनले कमलसिंह ऐरीको एकै ओभरमा ४ चौका र १ छक्का प्रहार गरे ।
ओपनर एथान्जेले २५ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाए । पहिलो ओभरमै कमलले जोहन्सन चार्ल्सलाई शून्यमा बोल्ड गरे पनि एथान्जेले आफ्नो आक्रामक इनिङ्स कायमै राखेका थिए । चार्ल्सको स्थानमा आएका एन्ड्र्यु फ्लेचरले दीपेन्द्रलाई लगातार बलमा छक्का प्रहार गरे पनि अर्को ओभरमा रोहितको चुस्त थ्रोमा रनआउट हुन पुगे । एथान्जे र चेजले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे । चेज र किएसी कार्टीले चौथो विकेटमा ६० रनको साझेदारी बनाए । कार्टीले २६ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाएका थिए ।
अनुभवी तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीबिना नै खेलिरहेको नेपालबाट अविनाश, रोहित, दीपेन्द्र र कमलले १–१ विकेट लिए । अविनाशले ४ ओभरमा २८ रनमात्र खर्चे भने दीपेन्द्रले ३ ओभरमा ३० रन दिए । रोहितले आफ्नो एकमात्र ओभरमा १० रन दिए । कमलले ३ ओभरमा ५३ रन खर्चे । ललित राजवंशीले ४ ओभरमा ३४ रन खर्चे । दुवै टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेलिरहेका हुन् । शृंखलाको दोस्रो खेल आइतबार हुनेछ ।

Page 2
दृष्टिकोण

पुनर्निर्माणको पर्खाइमा मुलुककै पहिलो विद्युत् आयोजना

वि.सं. १९६८ मा उद्घाटन भएको मुलुककै पहिलो जलविद्युत् आयोजना २०७२ सालको भूकम्पपछि पूर्ण रूपमा बन्द
- सीमा तामाङ

(काठमाडौं)
मुलुकमै पहिलो पटक बिजुलीको उज्यालो दिएको फर्पिङ जलविद्युत् केन्द्र अहिले आफैं उज्यालो खोज्नुपर्ने अवस्थामा पुगेको छ ।
१ सय १२ वर्षअघि यही जलविद्युत् केन्द्रले पहिलो पटक काठमाडौंमा उज्यालोको आभास दिएको थियो । मुलुकको पहिलो र एसियाको दोस्रो यस जलविद्युत् केन्द्रमा बिजुली उत्पादन बन्द भएको ९ वर्ष बितिसकेको छ । केन्द्रले २०७२ सालको भूकम्पअघिसम्म आवश्यकताका आधारमा ३०/४० किलोवाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको थियो । त्यसयता यो पूर्ण रूपमा बन्द छ । ‘भूकम्पअघिसम्म आवश्यकताअनुसार बिजुली उत्पादन गरिरहे पनि त्यसपछि बन्द भयो,’ फर्पिङ जलविद्युत् केन्द्रका प्रमुख भीमसेन लामाले भने, ‘मर्मतसम्भार गर्‍यो भने बिजुली उत्पादन गर्न सकिने अवस्था अझै विद्यमान छ ।’
तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबराकै अगुवाइमा पहिलो पटक मुलुकमा फर्पिङ जलविद्युत् केन्द्र निर्माण भएको थियो । चन्द्रशमशेरको बेलायत भ्रमणकै क्रममा नेपालमा पनि जलविद्युत् केन्द्र बनाउन सकिने सम्भावनाबारे छलफलपश्चात् उनी स्वदेश फर्केपछि यसको स्थापना गरिएको हो । चन्द्रशमशेरले बेलायतबाट इन्जिनियर झिकाइ पहिलो जलविद्युत् केन्द्र निर्माण गरेको स्थानीयहरू बताउँछन् । इन्जिनियर कर्णेल किशोरनरसिंह राणाले काठमाडौंको दक्षिणमा पर्ने फर्पिङ क्षेत्रको कुटली, सातमुले र शेषनारायण खोलाको पानी जम्मा गरेर बिजुली निकाल्ने योजना बनाएका थिए ।
वि.सं. १९६४ मा केन्द्रको निर्माण सुरु गरी चार वर्षपछि १९६८ जेठ ९ मा यसको उद्घाटन गरिएको थियो । खोकनाका एक सर्वसाधारणको घरमा बत्ती बालेर यसको परीक्षण गरेपछि तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहले टुँडिखेलमा बत्ती बालेर केन्द्रको उद्घाटन गरेका हुन् । उक्त जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली तत्कालीन राजपरिवार, राणा परिवारलगायतलाई वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले त्यसबेला यसको नाम नै ‘चन्द्रज्योति विद्युत् गृह’ राखिएको स्थानीय बताउँछन् । त्यसबेलाको बिजुली अड्डाअन्तर्गत विद्युत् गृह सञ्चालन गरिएको थियो । छिमेकी देश चीनको कुन्मिङ राज्यमा सन् १९११ मा २ सय ४० किलोवाट क्षमताको पावर हाउस बनेको थियो । भारतमा सन् १८९७ मै १ सय ३० किलोवाट क्षमताको पावर हाउस दार्जिलिङमा बनेको थियो । नेपालमा सन् १९११ अर्थात् वि.सं. १९६८ मा दुई छिमेकी देशको भन्दा ठूलो क्षमताको ५ सय किलोवाटको फर्पिङ पावर हाउस सञ्चालनमा आएको हो । एसियाको दोस्रो भए पनि क्षमताका आधारमा यो पहिलो नै रहेको सरोकारवालाहरू दाबी गर्छन् ।
पहिलो जलविद्युत् केन्द्र निर्माणमा राजाका भाइभारदारहरूको पनि सहभागिता थियो । त्यसबेला जनरल पद्मशमशेर जबराले समग्र निर्माण कार्यको निरीक्षण र अनुगमन गरेका थिए भने जनरल मोहनशमशेर जबरा र जनरल केशवशमशेर जबराले सामग्री तथा उपकरण आपूर्ति एवं यातायातको जिम्मेवारी निर्वाह गरेका थिए । कर्णेल तिलविक्रम र सुबेदार बखतबहादुरलाई पावर हाउसको निर्माण र उपकरण जडानको जिम्मेवारीमा थिए । लप्टन देवीबहादुर र सुवेदार हर्षबहादुरलाई ट्रान्समिसन लाइन निर्माणको जिम्मा दिइएको थियो । कार्यकारी इन्जिनियर कर्णेल किशोरनरसिंह राना पावर हाउसको योजना निर्माण, कर्णेल कुमारनरसिंह राणा निर्माण कार्यमा सहयोगी थिए । इलेक्ट्रिक इन्जिनियर बर्नौउ प्वान्टेलाई हाइड्रोपावर स्टेसनको निर्माणको जिम्मा दिइएको थियो । जनरल इलेक्ट्रिक कम्पनीका इन्जिनियर लिन्जाले सम्पूर्ण उपकरण जडान गर्नेलगायत जिम्मा पाएका थिए । उक्त विद्युत् केन्द्र निर्माण कार्यमा त्यतिबेला झन्डै साढे ९ लाख मानिस सहभागी भएको बताइएको छ ।
हाइड्रो पावरका लागि समुद्री सतहदेखि ३ हजार ९ सय २७ फिट उचाइमा ५ लाख २८ हजार ७ सय ८३ क्युफिट पानी अट्ने गोलाकार जलाशय निर्माण गरिएको थियो । जलाशयदेखि २ हजार ५ सय ३८ फिट लामो २० इञ्चको पेनस्टक पाइपमार्फत पावर हाउसमा रहेको २ सय ५० किलोवाट क्षमताका दुईवटा टर्बाइनमा २ सय ८८ पीएसआईको प्रेसर अर्थात् करिब १८६०.२३ फिटको ग्रस हेडले हान्दा ३ फेजको ११ हजार भोल्ट निकाल्ने गरी ६०० (आरपीएम) सिन्क्रोनस स्पिडमा घुमाउने गरी जनरल इलेक्ट्रिक जेनेरेटर जडान गरिएको थियो । फर्पिङबाट उत्पादित विद्युत् काठ र स्टिलका पोल गाडेर ८ माइल लामो ११ किलोभोल्ट ट्रान्समिसन लाइनमार्फत टुँडिखेल सबस्टेसनसम्म ल्याइएको थियो । त्यसबेला ३३०० भोल्टमा स्टेप–डाउन गरी सिंहदरबार र काठमाडौंस्थित राणा र राजाका भाइभारदारका दरबारसम्म पुर्‍याइएको थियो ।
पाइपलाइन, हेडवक्स, जलाशय, पावरहाउस, कोलनी, सबस्टेसन, कार्यालय, प्रसारण तथा वितरण लाइन, टेलिफोन लाइन, लन्डनदेखि कलकत्तासम्म र कलकत्तादेखि भीमफेदीसम्म सामान ढुवानीको खर्च, भीमफेदीदेखि निर्माणस्थलसम्म, तलब/ज्याला गरी ७ लाख १३ हजार २ सय ७३ रुपैयाँ खर्चिएको थियो । जलविद्युत् केन्द्रलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री बेलायतदेखि नै आयात गरिएको थियो । बेलायतदेखि कलकत्ता हुँदै भीमफेदीसम्म गाडीमै आयात भए पनि त्यसपछि फर्पिङसम्म बोकेर ल्याइएको थियो । टर्बाइन, जेनेरेटरलगायत मुख्य उपकरण बेलायत सरकारले अनुदानमा दिएको हुनाले यो खर्चमा नजोडिएको केन्द्रका प्रमुख लामाले बताए ।
प्राधिकरणको सहायक कम्पनीले मास्टर प्लान बनाइरहेको र तत्काल संरक्षणको कुनै काम अघि नबढाइएको उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक मदन तिम्सिनाको दाबी छ । ‘मास्टर प्लान बन्दै छ, अहिले त्यसको रिपोर्ट बनाउने काम भइरहेको छ, त्यसैले महत्त्वपूर्ण कामहरू गरिएको छैन,’ उनले भने, ‘रिपोर्ट आउनासाथ टेन्डर आह्वान गरी पर्यटकीय गन्तव्यसहित संग्रहालयको काम अघि बढाउँछौं ।’ वडा र नगरपालिकाले पनि विविध योजना बनाइरहेको र त्यसको समन्वय नभएकाले अस्तव्यस्त देखिएको उनको भनाइ छ ।
‘पावरहाउसबाट विद्युत् निकालिसकेपछि पानीलाई खानेपानीका रूपमा लगिनुपर्थ्यो, तर पहिलेदेखि पावरहाउसमा नहाली सिधै पानी लैजाने गरिएको रहेछ,’ उनले भने, ‘यस्ता विविध कारणले गर्दा बिजुली उत्पादन बन्द भएको छ, तर चालु हालतमा भने राखिएको छ ।’ ऐतिहासिक संरचनालाई संरक्षण गर्ने प्राधिकरणको योजना नै रहेको उनले बताए । प्राधिकरणको सहायक कम्पनी एईईए इन्जिनियरिङ कम्पनीले पर्यटकीय हब र हाइड्रोपावर संग्रहालय बनाउनका लागि मास्टर प्लान बनाइरहेको छ । विद्युत् उत्पादन सुरु भएको १ सय १२ वर्षको इतिहासमा हाल कुल जडित क्षमता ३२ सय मेगावाट पुगिसकेको छ । अझै पनि चाहेको खण्डमा फर्पिङ जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गर्न सकिने उनी बताउँछन् ।
१९६८ जेठ ९ मा उद्घाटन भएको ‘चन्द्रज्योति विद्युत् गृह’ वि.सं. २०३८ सम्म निरन्तर सञ्चालनमा रहेको थियो । त्यसबेला ललितपुरका विभिन्न क्षेत्रमा खानेपानीको हाहाकार थियो । चन्द्रज्योति विद्युत् गृहको जलाशयको पानी पावरहाउसको टर्बाइनमा नहाली भैंसीपाटीतर्फ लैजान थालियो । जलाशयको पानी विद्युत् गृहकै पेन्टाटिस्क पाइपमा टेपिङ गरी खोकना हुँदै भैंसीपाटीलगायत ललितपुरको मुख्य क्षेत्रसम्म पुर्‍याइएको केन्द्रका प्रमुख लामा पनि स्वीकार गर्छन् । ‘त्यसबेला खानेपानी र हाइड्रोपावर हेर्ने निकाय एउटै रहेकाले तत्कालीन जलस्रोत ऐनमा मुख्य प्राथमिकता खानेपानीलाई दिइएको थियो । जलविद्युत् चौथो नम्बरमा पर्थ्यो,’ उनले भने, ‘त्यसैले विद्युत् गृहको पानी खानेपानीका रूपमा लैजान थालेपछि बिजुली उत्पादन बन्द भएको रहेछ ।’
‘चन्द्रज्योति विद्युत् गृह’ बिजुली अड्डाअन्तर्गत सञ्चालित थियो । वि.सं. २०१९ भदौमा बिजुली अड्डाको नाम फेरेर नेपाल विद्युत् कर्पोरेसन राखिएको थियो । अड्डालाई कर्पोरेसन बनाउन नेपाल विद्युत् कर्पोरेसन ऐन, २०१९ लागू गरियो । संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रवर्द्धन गर्ने उद्देश्यले पछि कर्पोरेसनलाई नेपाल विद्युत् प्राधिकरण बनाइएको थियो । नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत वि.सं. २०४२ भदौ १ मा यसलाई प्राधिकरण बनाइएको थियो । २०४१ म नेपाल विद्युत् प्राधिकरणको स्थापनापछि चन्द्रज्योति विद्युत् गृहको नाम परिवर्तन गरी फर्पिङ जलविद्युत् केन्द्र बनाइएको हो ।
मुलुकको पहिलो विद्युत् गृहलाई पुनः सञ्चालन गर्नुपर्ने भन्दै २०६३ मंसिरमा बृहत् मर्मतसम्भार गरी दैनिक एक घण्टा वा आवश्यकता अनुसार चलाउन सुरु गरिएको हो । २०६३ पछि उक्त विद्युत् गृहबाट ३०/४० किलोवाट मात्रै बिजुली निकालिन सुरु गरेको केन्द्र प्रमुख लामाको भनाइ छ । बिजुली उत्पादन सुरु भएको एक दशक नपुग्दै पुनः २०७२ सालको भूकम्पबाट बिजुली उत्पादन ठप्प बन्न पुग्यो । तर खानेपानी वितरणले भने २०३८ सालदेखि निरन्तरता पाइरहेको छ ।
२०६७ सालमा १ सय वर्ष पुगेको अवसरमा उक्त विद्युत् गृहमा तत्कालीन ऊर्जा मन्त्रालयको संयोजकत्वमा शतवार्षिकी महोत्सव मनाइएको थियो । शतवार्षिकीका अवसरमा पावर हाउस नजिकै २७ लाख रुपैयाँ खर्चिएर प्रवेशद्वारमा गेट र ५७ लाख रुपैयाँमा स्मारक बनाइएको छ । त्यसबेला नै सरकारले फर्पिङ विद्युत् गृहलाई संग्रहालय बनाइने बताएको थियो । तर अहिलेसम्म न संग्रहालय बन्यो, न त पुनः उत्पादन नै सुरु हुन सक्यो । गत साउनमा प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरमा फर्पिङ जलवद्यिुत् केन्द्र परिसरमा वृक्षरोपण गर्दै फर्पिङ विद्युत् केन्द्रलाई संग्रहालय बनाउने बताएको थियो । कार्यक्रममा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई संग्रहालय बनाइने गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत्लाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने योजना बनाएको लामाले बताए । प्राधिकरणले केन्द्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न एनईए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने प्राधिकरणको भनाइ छ ।
केन्द्रको जलाशय र विद्युत् गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जिप लाइन, पिकनिक स्पट, पुस्तकालय, बाल उद्यानलगायतका संरचना निर्माण गरिने योजना रहेको उनको भनाइ छ । जलविद्युत् केन्द्रका संरचनालाई जीर्णोद्धार गरी संग्रहालयका रूपमा विकास गर्ने योजना छ । परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि झन्डै १ अर्ब रुपैयाँ लागतको अनुमान रहेको बताइएको थियो । तर केन्द्रका प्रमुख लामाले डीपीआरअनुरूप काम भइरहेको बताए । ‘यसबारे जानकारी लिन र हेर्न आउने पाहुनालाई विद्युत् कसरी उत्पादन हुन्छ भनेर टर्बाइन चलाएर आधारभूत जानकारी दिने गरेका छौं,’ उनले भने, ‘मुलुककै पहिलो र ऐतिहासिक विद्युत् गृह मर्मत–सम्भार गरी पुनः सञ्चालनमा ल्याउन ढिला गर्नु हुँदैन ।’

Page 3
समाचार

बालमन्दिरको ५२ रोपनी बैंकमा धितो, बाल संगठनको अभिलेखमा छैन हिसाब

कुन प्रयोजनका लागि धितो राखियो भन्ने अभिलेख र कारोबारको विवरण भेटिएन
- मातृका दाहाल

(काठमाडौं)
टंगालस्थित नेपाल बाल संगठनको जग्गा २५ वर्षअघि नै बैंकमा धितो राखेर कर्जा लिएको खुलेको छ । २०५६ भदौ २७ मा ५१ रोपनी १३ आना ३ पैसा जग्गा नेपाल बैंकमा धितो राखेर कर्जा लिएको भेटिएको हो । जग्गा अहिलेसम्म मालपोत कार्यालय डिल्लीबजारले रोक्का राखेको छ ।
बालमन्दिरको जग्गा धितो राखेर दिइएको कर्जाको विवरण भने बैंकबाट आउन बाँकी रहेको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् । उनका अनुसार कुन प्रयोजनका लागि धितो राखियो भन्ने अभिलेख र कारोबारको विवरण भेटिएको छैन । त्यस्तै २०५० जेठ ५ मा पनि मालपोतले बालमन्दिरको थप २९ रोपनी ४ आना ३ पैसा ३ दाम जग्गा रोक्का राखेको देखिन्छ । यसरी जग्गा बैंकमा राखेर कर्जा लिएको र कर्जाको अभिलेखमा हिसाबकिताब नहुनुले ३ दशकअघिबाटै जग्गा मास्ने खेल सुरु भएको स्पष्ट हुन्छ ।
पञ्चायतकालमै सरकारी/सार्वजनिक प्रयोजनका लागि व्यक्तिबाट अधिग्रहण गरी ल्याइएको ऐतिहासिक पृष्ठभूमिको यो जग्गा चरणबद्ध रूपमा हडप्ने–खानेमास्ने योजनाअनुसार बैंकमा धितो राख्नेदेखि शंकास्पद रूपमा लिजमा लगाउनेसम्मका गतिविधि भएको भन्दै यसको निष्पक्ष अनुसन्धान गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने न्यौपानेले बताइन् ।
बालमन्दिर राणा प्रधानमन्त्री भीम शमशेरकी पत्नी ‘सीता महारानी’ का नामबाट राखिएको राणाकालीन दरबार (सीता भवन) का नामले चिनिन्छ । २०२१ मंसिरअघिसम्म यसको १ सय १९ रोपनी भीम शमशेरका खलकहरूको भोगचलनमा थियो । सरकारी–सार्वजनिक प्रयोजनका लागि भन्दै त्यसबेला सरकारले विभिन्न ६ वटा राणाकालीन दरबार र त्यसले चर्चेका सबै जग्गा मुआब्जा दिएर अधिग्रहण गर्ने निर्णय गरेको थियो । २०२१ मंसिर १७ को राजपत्रअनुसार लक्ष्मी निवास (महाराजगन्ज), ललिता निवास (बालुवाटार), महावीर भवन (नक्साल), कुरियागाउँ (बबरमहल) र हरिहर भवन (पुल्चोक) सहित सीता भवन (नक्साल) एकै दिन अधिग्रहण गरिएका हुन् ।
हाल लक्ष्मी निवास नेपाली सेनाको भैरवनाथ गण भएको स्थान हो । ललिता निवास क्षेत्र हालका प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखका सरकारी निवास र राष्ट्र बैंक रहेको क्षेत्र हो । महावीर भवन हालको नेपाल प्रहरी प्रधान कार्यालय, कुरियागाउँ बबरमहल क्षेत्र विभिन्न सरकारी अड्डा तथा काठमाडौं अदालतसहितका निकाय रहेको स्थान हो । हरिहर भवनमा मन्त्री निवाससहित सार्वजनिक संस्थाका कार्यालय छन् । सीता भवन अधिग्रहणपछि तत्कालीन सरकारले बालमन्दिर नामकरण गरेर त्यसैमार्फत अनाथ/असहाय बालबालिकाको हेरचाह/संरक्षणका लागि संगठित पहल लिएको थियो ।
२०४६ को राजनीतिक परिवर्तनपछि भने बाल संगठनमा छिरेको राजनीतिक तथा व्यापारिक चलखेल र सौदाबाजीबाट यसको सम्पत्ति हिनामिना सुरु भएको देखिन्छ । ‘बालमन्दिरको करिब ५२ रोपनी जग्गा नेपाल बैंकको पत्रका आधारमा मालपोत कार्यालय डिल्लीबजारले रोक्का राखेको भेटियो,’ न्यौपानेले कान्तिपुरसँग भनिन्, ‘बैंक केन्द्रीय कार्यालय वा अरू कुन शाखाको पत्रबाट रोक्का भएको हो र कुन शाखाबाट कति कर्जा प्रवाह भएको छ भन्ने विवरण मागेका छौं ।’
पछिल्लो समय बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल संगठनले आन्तरिक छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि यो विषयमा अनुसन्धान भइरहेको छ । आन्तरिक छानबिन तथा जग्गा हिनामिनाको खोजबिन गर्ने क्रममै संगठनले सरकारी अभिलेखमा बालमन्दिरको जग्गाको अवस्था के–कस्तो छ भनेर मालपोत कार्यालय डिल्लीबजारलाई बिहीबार पत्र पठाएको थियो । त्यसको शुक्रबार जवाफमा दिँदै डिल्लीबजार मालपोत कार्यालयले नेपाल बैंक र बाल संगठनबाहेक राष्ट्रिय सतर्कता केन्द्रले पनि १५ रोपनीबाहेक सबै जग्गा २०६९ असोज २ मा रोक्का राखेको जानकारी संगठनलाई गराएको छ ।
बाल संगठनका पदाधिकारी र कर्मचारी तथा स्वार्थ समूहको योजनामा जग्गा मास्ने खेल तीव्र गतिमा अघि बढेको भेटिएपछि सतर्कता केन्द्रले जग्गा संरक्षणका लागि मालपोतमा रोक्का राखेको एक कर्मचारीले बताए । ‘३० वर्षअघिबाटै जग्गा हिनामिना गर्ने र निजी कम्पनीलाई कौडीको भाउमा लिजमा दिएर अनन्तकालसम्म सुम्पिने योजनाका साथ चलखेल भएको देखिन्छ, त्यसकै कडीका रूपमा बैंकबाट कर्जा निकाल्नेदेखि बालमन्दिरभित्र बनेका संरचना धितो राखेर ‘लियन’मा बैंकबाट रकम लिनेसम्मका गतिविधि भएका हुन्,’ ती कर्मचारीले कान्तिपुरसँग भने, ‘त्यही भएर जग्गा बिक्री गरेर खाने/मास्ने खेल नहोस् भनेरै सतर्कता केन्द्रले रोक्काका लागि मालपोतमा पत्र पठाएको हो ।’
नेपाल बैंकमा बालमन्दिरको जग्गा धितो राखेर कर्जा प्रवाह हुँदा बाल संगठनकी अध्यक्ष रीता सिंह वैद्य थिइन् । त्यस बेला नेपाल बैंकको प्रमुख कार्यकारीमा भवानीदेवी शर्मा थिइन् । वैद्य २०४९ देखि २०७६ सम्म २७ वर्ष संगठनको अध्यक्ष थिइन् । उनी कांग्रेस नेता गणेशमान सिंहकी छोरी एवं सांसद प्रकाशमान सिंहकी सहोदर दिदी हुन् । २०४८ को निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले वैद्यलाई बाल संगठनको अध्यक्ष नियुक्त गरेको थियो । उनी अध्यक्ष भएर आएलगत्तै बृहस्पति विद्या सदनलाई सुरुमा बालमन्दिरको ५ रोपनी जग्गा लिजमा दिइएको थियो ।
त्यसपछि योजनाबद्ध रूपमा बालमन्दिरको जग्गाको क्षेत्रफल बढाउँदै लगेको बृहस्पतिले पछिल्लो पटक २०७२ जेठमा सबलिज सम्झौता गरी पहिलेको सम्झौता अवधि १६ वर्ष बाँकी छँदै वि.सं. २१३१ सम्मका लागि लिजमा २९ रोपनी ४ आना जग्गा हत्याएको थियो । त्यसपछि बृहस्पतिले लिजमा लिएको जग्गामध्येकै ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’लाई वार्षिक ६० लाख रुपैयाँ भाडा असुल्ने गरी भित्र्याएको थियो । २०७६ कात्तिक १ मा राय स्कुललाई बालमन्दिर परिसरमा ५० वर्षसम्म बस्न पाउने गरी सेटिङमै सबलिज सम्झौता गरिएको थियो । बृहस्पति र राय दुवै एउटै व्यवस्थापनबाट सञ्चालित विद्यालय हुन् ।
यो शंकास्पद लिज सम्झौता तत्कालीन पदाधिकारी र कर्मचारी तथा शक्तिकेन्द्रको दबाब–प्रभावबाट गरिएको भन्दै शुक्रबार बाल संगठनको केन्द्रीय समिति बैठकले बृहस्पतिसँग भएको लिज सम्झौता खारेज गर्ने निर्णय गरिसकेको छ । अर्को बैठकले कुन मितिबाट लागू हुने गरी बृहस्पतिलाई बालमन्दिरबाट हटाउने भन्ने निर्णय लिइने न्यौपानेले जानकारी गराइन् ।
बाल संगठनको विधानमै सरकारी जग्गा निजीसरह किनबेच गर्न पाउने भन्ने विवादास्पद प्रावधान घुसाएर ऐन बनेको थियो । त्यो ऐन आएलगत्तै बालमन्दिरमा बृहस्पतिलाई प्रवेश गराइएको थियो । त्यसयताको ३२ वर्ष त्यहीबाट बृहस्पति स्कुल सञ्चालन भइरहेको छ । २०४१ मा स्थापना भएको बृहस्पति २०४९ मा वैशाख २६ मा ९ रोपनी जग्गा लिजमा लिएर बालमन्दिर छिरेको थियो । २०५९ सम्म पटक–पटक पूरक सम्झौता गरी बृहस्पतिलाई १४ रोपनीसम्म भोगचलन गर्न दिइएको थियो । सुरुवातमा २०५३ माघसम्म भाडामा बस्ने गरी सम्झौता गरिएकोमा त्यसपछि भने बृहस्पति हटेन । २०५९ भदौ ११ मा थप १३ रोपनी १२ आना १ पैसा जग्गा भाडामा दिने गरी ३० वर्षे (२०८९ सम्म) सम्झौता भयो । तर, सम्झौता अवधि सकिन १६ वर्ष बाँकी छँदै २०७२ मा थप ४३ वर्ष बस्न पाउने गरी वि.सं. २१३१ सम्मको लिज अवधि कायम रहने सम्झौता भयो । यो सम्झौता पनि संगठनकी अध्यक्ष वैद्यले गरेकी थिइन् ।

समाचार

‘फेक अडियो’ मा अख्तियारको पनि ध्यानाकर्षण

स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला वरिष्ठतम् न्यायाधीशलाई समेत बदनाम गर्ने कुत्सित उद्देश्यका साथ ‘फेक न्युज’ उत्पादनः मिडियो सोसाइटी
- कान्तिपुर संवाददाता

(काठमाडौं)
सर्वोच्चको संवैधानिक इजलास, कानुन व्यवसायी र सञ्चारमाध्यमलाई आक्रमण गर्न बनाइएको ‘फेक अडियो’ लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ‘नोटिस’ मा लिएको जनाएको छ । राज्यका संवेदनशील निकायप्रति हिलो छ्याप्ने काममा अख्तियारको नाम दुरुपयोग भएकाले यो विषयमा आयोगका अधिकारीहरूले आफ्नो धारणा बाहिर ल्याउने बताएका छन् ।
‘यो विषयप्रति गम्भीर भएर सार्वजनिक नोटिसका रूपमा लिएका छौं,’ आयोगका एक अधिकारीले कान्तिपुरसँग भने, ‘सार्वजनिक बिदा भएकाले शनिबार यसबारे कुरा हुन पाएन । आइतबार कार्यालय समयमा विमर्श गर्छौं ।’
अख्तियारको स्टिङ अपरेसनसम्बन्धी सर्वोच्च अदालतको रिटको पेसी विवरणले पनि उक्त अडियो ‘फेक’ रहेको पुष्टि हुने सर्वोच्च प्रशासनका एक अधिकारीले बताए । संवैधानिक निकाय अख्तियारले नै घूस खुवाएर स्टिङ अपरेसन गर्नु हुँदैन भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस २ मा दायर गरेको रिटअनुसार सर्वोच्चले ०७९ वैशाख ८ मा त्यस्तो व्यवस्था खारेज गरेको थियो । चैत ३० मा भएको भनिएको ‘बैठक’ मा कुनै एक पात्रलाई बयान फेर्नका लागि दबाब दिन बोलाइएको भनिन्छ र न्यायाधीशको नक्कल गर्ने व्यक्तिले पनि तपाईंलाई ‘इजलासमा बोल्न समय दिन्छौं’ भनिएको छ । तर, रिटको अभिलेखबाटै प्रस्ट हुन्छ, ‘यो रिटका अन्तिम सुनुवाइ नै २०७८ मंसिर २४ मा भएको थियो । बहस पैरवीका सम्पूर्ण प्रक्रिया सकेर सर्वोच्चले निर्णय सुनाउने (निसु) मात्र बाँकी राखेको थियो, त्यसैले यो विषयसमेत हेक्का नगरी अडियो निर्माण गरिएको देखिन्छ,’ सर्वोच्चका ती अधिकारीले भने ।
यो रिटको सुनुवाइमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा थिए । तर इजलासमै नभएका न्यायाधीश आनन्दमोहन भट्टराईलाई कथित बैठकमा उपस्थित गराएर मोलामोलाइ गरिएको देखाएको विषयलाई सर्वोच्चले गम्भीरतापूर्वक लिएको ती अधिकारीको भनाइ छ । ‘व्यक्ति विशेषले आफ्नो कुत्सित मनसाय पूरा गर्न सञ्चारमाध्यम, कानुन व्यवसायी र न्यायाधीश मात्र होइन, न्यायपालिका र सिंगो प्रणालीलाई बदनाम गर्न खोजेको छ । न्यायको अन्तिम धरोहरमाथिको यो आक्रमण क्षम्य हुँदैन, यो विषयमा कानुनी कदमहरू अघि बढ्छन्,’ उनले भने ।
यसैबीच नेपाल मिडिया सोसाइटीले स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि आधारहीन लाञ्छना लगाउन ‘फेक न्युज’ तयार पारी सार्वजनिक गर्नेलाई अनुसन्धान गरी कारबाही माग गरेका छन् । ‘नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला वरिष्ठतम् न्यायाधीशलाई समेत बदनाम गर्ने कुत्सित उद्देश्यका साथ कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर भ्रम फैलाउनेलाई कारबाही हुनुपर्छ,’ अध्यक्ष शुभशंकर कँडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त भिडियोमार्फत लोकतान्त्रिक संरचना, स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरूको बदनाम गर्ने र अराजक उत्तेजित भीडको शासन लाद्ने दूषित प्रयास भएको छ ।’
गैरजिम्मेवार र नियोजित ‘फेक खुराक’ उत्पादन गर्ने कारखानाहरू मिडिया हुन नसक्ने तथ्यलाई स्पष्ट गर्नु आवश्यक रहेको समेत सोसाइटीको विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘यस्ता खालका फेक कारखानाका पछाडि र हेट स्पिचको वर्गमा पर्ने क्रियाकलापलाई तत्कालै कारबाहीको दायरामा ल्याउनसमेत हामी जोडदार माग गर्दछौं ।’
मिडिया सोसाइटीले भने पछिल्लो समय भ्रष्टाचारविरुद्ध केही घटना तथा बेथिति र विकृतिको भन्डाफोरका सन्दर्भमा नेपालको जिम्मेवार मूलप्रवाहको मिडियाले अग्रणी भूमिका खेल्दै आएका कारण स्वार्थ समूह अत्तालिएको उल्लेख गरेको छ । ‘कुनै रिस साँध्न वा अरूलाई पनि आफू जस्तै त हो नि भन्ने भाष्य तयार गर्न कुनै अनलाइन वा सोसल मिडियाको दुरुपयोग हुनु आफैंमा डरलाग्दो प्रवृत्ति हो,’ सोसाइटीले भनेको छ, ‘यस्तो रबैयालाई समयमा नै नरोकिएमा भविष्यमा यस्ता घटनाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने निश्चित छ ।’
कानुन पालना गराउने निकायहरूले यसलाई गम्भीरतापूर्वक लिनेमा सोसाइटी आशावादी रहेको विज्ञप्तिमा उल्लेख छ, ‘विगत केही समयदेखि लगातार नेपाली मिडिया, पत्रकार र न्यायालयमाथि खुलेआम हुने गरेका आक्रमण, धम्की र अवाञ्छित अभिव्यक्तिको नियोजित सिलसिला पछिल्लो फेक अडियो प्रकरण हो ।’
यता नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उक्त अडियो बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सर्वोच्च अदालतले पनि वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराईलाई जोडेर गरिएको झूटको स्वतः संज्ञान (सो मोटो) लिएर अदालतको अवहेलनामा मुद्दा चलाउनुपर्ने बताएका छन् । ‘यस अडियोमा भनिएका न्यायाधीश र त्यहाँ भनिएको मुद्दासँग कुनै मेल खाँदैन । उहाँले त्यो रिटको सुनुवाइमा नै हुनुहुन्न भन्ने प्रस्ट छ । वरिष्ठतम् र सबैले उच्च मर्यादा राख्ने न्यायाधीशको बारेमा यस्तो प्रचार हुनु अदालतको अवहेलना हो । प्रधानन्यायाधीशले पहल लिएर न्यायालयमाथि गरिएको यो प्रहारका लागि अवहेलना मुद्दा चलाउनुपर्छ,’ अध्यक्ष घिमिरेले भने, ‘यो फेक अडियोको विषयमा राज्यका अरू निकायले पनि अनुसन्धान र छानबिन गर्नुपर्छ । नेपाल प्रहरीको साइबर ब्युरोले पनि फेक अडियो/भिडियो बनाउने, न्यायालय, कानुन व्यवसायी र स्वतन्त्र मिडियामाथि प्रहार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
अधिवक्ताद्वय हरि उप्रेती र किशोर बिष्टले पनि विज्ञप्ति जारी गर्दै उक्त युट्युब च्यानलको कार्यक्रममा भनिएको जस्तो क्रियाकलापमा आफूहरूको संलग्नता नरहेको र त्यसमा गरिएका संवादसँग आफूहरूको कुनै साइनो नरहेको दाबी गरेका छन् । ‘सो अडियो सामग्रीमा उल्लेख भएको विष्णुप्रसाद घिमिरे निवेदक भएको रिट निवेदनमा हामी कुनै पनि पक्षबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायी होइनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त अडियोमा हाम्रा नामबाट सुनाइएको आवाज हाम्रो होइन र हाम्रो उपस्थिति देखाउन सिर्जना गरिएको वातावरणसमेत अस्वाभाविक छ ।’

समाचार

प्रधानन्यायाधीशले तत्काल फुलकोर्ट बैठक डाकेर अवहेलना मुद्दा चलाउनुपर्छ’

युट्युबमार्फत सार्वजनिक अडियो तथा त्यसको आधारमा बनाइएको भिडियो प्रारम्भिक रूपमै ‘फेक’ देखिन्छ । न्यायाधीश र वकिल तथा मिडियाका मान्छेहरूबीच कर्पोरेट टावरमा बैठक भनिएको छ, बाहिर बच्चाहरू कराएको सुनिन्छ । प्रारम्भिक रूपमै सुन्दा त्यो भिडियो नियोजित देखिन्छ । त्यसैले भिडियोबारे नेपाल बार एसोसिएसनको कार्यसमितिले सल्लाहकारहरूसँग परामर्श गरी शुक्रबार नै विज्ञप्ति जारी गरेको हो । यस्तो भ्रामक अडियोको मकसद न्यायपालिकाको साखमाथि प्रहार गर्ने हो भन्नेमा हामी चिन्तित छौं ।
सामान्यतः न्यायालय आफैं बोल्दैन, उसको तर्फबाट नेपाल बार, सञ्चारमाध्यम बोलिदिनुपर्छ । तर यो गम्भीर विषय भएकाले उनीहरूले मात्र बोलेर पुग्दैन । होइन भने राज्यशक्तिमाथिको अविश्वास बढेर जान्छ र मुलुक असफल राष्ट्रतर्फ धकेलिन्छ । आफ्ना न्यायाधीशमाथि यस्तो प्रहार भएको छ भने प्रधानन्यायाधीशले सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाउनुपर्छ । यस्तो विषय आउनु अदालतको अवहेलना हो । प्रधानन्यायाधीशले तत्काल फुलकोर्ट बैठक डाकेर न्यायालयमाथि गरिएको यो प्रहारका लागि स्वतः संज्ञान (सो मोटो) लिएर अवहेलना मुद्दा चलाउनुपर्छ । यो क्षतिपूर्तिको विषय पनि बन्छ । जसका बारेमा भ्रम छरिएको हो उहाँहरूलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने विषय पनि रहन्छ ।
रिटको सनुवाइमै नभएका न्यायाधीशलाई बैठकमा उपस्थित भनेर उहाँको समेत बोली निर्माण गरेर अडियो बनाइएको छ । वरिष्ठतम् र सबैले उच्च मर्यादा राख्ने न्यायाधीशमाथि यस्तो आक्षेप आउनु दुर्भाग्य हो ।
यो प्रकरणा जोडिएका मान्छेलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ । यो विषयमा राज्यका अरू निकायले पनि अनुसन्धान र छानबिन गर्नुपर्छ । नेपाल प्रहरीको साइबर ब्युरोले पनि फेक अडियो/भिडियो बनाएर न्यायालय, कानुन व्यवसायी र स्वतन्त्र मिडियामाथि प्रहार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

Page 4
सम्पादकीय

बहुउद्देश्यीय गौरवका आयोजनालाई गति देऊ

सुनकोशी–मरिण डाइभर्सन वाग्मती प्रदेशमा र भेरी बबई सिँचाइ डाइभर्सन कर्णाली प्रदेशमा निर्माणाधीन आयोजना हुन् । यी दुईमा केही समानता छन् । दुवै स्वदेशी लगानी रहेका राष्ट्रिय गौरवका आयोजना हुन् । दुवै आयोजना सुरुङमार्फत खोलाको पानी अर्कातिर लगेर तराई क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएका हुन् । मुलुकका निर्माणाधीन २२ राष्ट्रिय गौरवका आयोजनामध्ये यी दुई मात्रै बहुउद्देश्यीय हुन् । कामको प्रगतिमा पनि दुवैमा उस्तै समानता देखिँदै छ । भेरी बबईमा सुरुङ खन्ने काम छिट्टै सकियो, अन्य काम सुस्त छ । सुनकोशी–मरिणमा पनि लक्ष्यभन्दा पहिले नै सुरुङ छेडिसक्न लागिएको छ तर अरू काम सन्तोषजनक छैन ।
भेरी बबई डाइभर्सन आयोजनाले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पनि राखेको छ । यसको निर्माण सुरु आर्थिक वर्ष २०७१/०७२ मा भएको हो । आयोजना अन्तर्गतको १२.२ किमि लामो सुरुङ २०७६ वैशाखमा छिचोलिएको थियो । तर अन्य पूर्वाधारका काममा अपेक्षित प्रगति हुन सकेको छैन । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायतका काम अधुरै छन् । हेडवर्क्स, पावर हाउसको काम गत साउन २९ भित्रै सक्नुपर्ने थियो । हेडवर्क्सको करिब ६० र पावर हाउसको ३८ प्रतिशत मात्र प्रगति छ । समयमै काम नसकिने भएपछि ०८१ भदौ १ सम्म म्याद थप गरिएको छ । आयोजनाको प्रगति ६५ प्रतिशत मात्र रहेकाले त्यतिन्जेल पनि काम पूरा हुने सम्भावना छैन ।
सुनकोशी–मरिण डाइभर्सन आयोजनाले भने सुनकोशीको पानी मरिण खोलामा खसालेर मधेशका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टरमा वर्षैभरि सिँचाइ सेवा दिने लक्ष्य राखेको छ । यही आयोजनाअन्तर्गत ३१.०७ मेगावाट विद्युत् पनि उत्पादन गरिनेछ । सुनकोशी–मरिणमा आर्थिक वर्ष २०७७/०७८ मा काम सुरु भएको हो । आयोजना अन्तर्गतको १३.३ किलोमिटर लामो सुरुङ २२ महिनामा सक्ने लक्ष्यका साथ खन्न थालिएकामा ६ महिनाअगावै छिचोलिँदै छ । दुवै आयोजनामा लक्ष्यभन्दा छिटो सुरुङ वारपार गरिसक्ने ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) हो । दुवै आयोजनामा सुरुङ खन्न ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) प्रयोग गरिएको छ । तर सुनकोशी–मरिणमा पनि सुरुङ बाहेकको कामले गति लिन सकेको छैन । आर्थिक वर्ष ०८०/८१ मा बाँध निर्माण १८ प्रतिशत सक्ने लक्ष्य लिइएकामा चैत मसान्तसम्म ७ प्रतिशत मात्र प्रगति छ । बर्खामा पानीको बहाव बढ्ने हुनाले बाँधको काम अब करिब डेढ महिना मात्र चल्छ, त्यसपछि हिउँद पर्खनुपर्छ । आयोजनाको समग्र प्रगति ३० प्रतिशत छ । आयोजनाको निर्माण गर्ने म्याद अब साढे तीन वर्ष मात्र बाँकी छ । दुवै आयोजनाका समान केही गुनासा तथा समस्या पनि छन् । दुवै आयोजनामा विद्युत्को लोडसेडिङले नियमित काम गर्न बाधा पुगेको छ । काम गरे बापतको भुक्तानी सरकारले बेलैमा नदिँदा कामै रोकिएका उदाहरण पनि छन् । भेरी बबईमा कोरोना महामारीले
काम बिथोल्यो । त्यसमाथि बीचमा डिजाइन परिवर्तन गरिनाले पनि असर पर्‍यो ।
सिँचाइ सुविधा र विद्युत् उत्पादनमार्फत मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्न सक्ने भएकाले यी दुवै आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको हो । यस्ता आयोजना कार्यान्वयनमा राष्ट्रिय योजना आयोगबाटै सहयोग, समन्वय र सहजीकरण गर्ने भनिएको छ । प्रधानमन्त्री आफैंले आयोजनाको कामको भिडियोमार्फत अनुगमन गर्ने, समस्या समाधानमा तदारुकता देखाउने नीति पनि लिइएको छ । तैपनि निर्माणमा अपेक्षित प्रगति नदेखिनु विडम्बनापूर्ण छ । आयोजनाको काम तोकिएकै मितिमा नसकिँदा एकातिर लागत बढ्ने जोखिम रहन्छ भने अर्कातिर किसानले सिँचाइ सुविधा पाउने समय धकेलिँदै जान्छ । सरकारले नै गौरवका रूपमा अघि सारेको र प्रधानमन्त्री तहबाट निगरानीसमेत हुने प्रबन्ध मिलाइएको आयोजना नै बेलैमा नसकिँदा सरकारको कार्यक्षमतामा पनि प्रश्न उठ्छ । त्यसैले यी आयोजनामा नियमित अनुगमन गर्दै जतिसक्दो छिटो पूरा गराउन ताकेता गर्नुपर्छ, समस्या आइहाले समाधानका लागि सहजीकरण गरिदिनुपर्छ । भुक्तानीलगायत आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने दायित्वका विषयमा सरकारले ढिलासुस्ती गर्नु हुँदैन ।

दृष्टिकोण

अस्थिर सरकार र व्यवस्था

नेताले संस्कार र सिद्धान्तको खाडलले अराजकतन्त्रलाई प्रश्रय दिन्छ भन्ने हेक्का नराखे व्यवस्था धरापमा पर्छ ।
नेपालका नेतामा त्यस्तो संस्कारको कमी त छादै छ, आत्मकेन्द्रित र शक्तिको बढी आसक्तिले समस्या थपेको छ ।
- लोकराज बराल

पटकपटकको सरकार परिवर्तनको नाटकले जनता आजित भएका छन् । केन्द्रको परिवर्तनले जतिबेला पनि प्रादेशिक सरकार बदलिने र प्रायः सबै दल यस्तै खेलमा रमाइरहँदा चेतनशील नागरिकदेखि सर्वसाधारण गरिब जनतालाई आआफ्नै प्रकारको चिन्ता बढेको छ । राजनीति अलिकति बुझ्नेका लागि सधैं भइरहने यस्ता घटनाले व्यवस्थामाथि पर्ने नकारात्मक प्रभावप्रति चिन्ता छ । तर परिवर्तनका वाहक मानिएका मुख्य राजनीतिक दललाई किन यस्ता प्रवृत्ति निदानको चासो छैन ? घरीघरी सरकार बदलिने मुख्य कारण के हुन् भन्ने प्रश्नको जवाफ नभई समाधानको बाटो पाउन गाह्रो हुन्छ ।
बहुदलीय व्यवस्थामा सानाठूला सबै प्रकारका दल हुन्छन् र उनीहरूलाई संविधानप्रदत्त अधिकार भएकाले जो कसैले पनि दल बनाउन सक्छन् । तर, स्थापित व्यक्तित्व र विचारले मात्र दल टिक्न सक्छन् । यदि नेता गतिलो नभए संगठन चल्न सक्दैन र विचार (सिद्धान्त) कमजोर भए यस्ता दलको प्रगति असम्भव हुन्छ । नेपाली कांग्रेसबाहेक अरू दलको विभिन्न खालको पृष्ठभूमि भएकाले सैद्धान्तिक आधार बदलिरहेको हुन्छ । जस्तोः आजको दोस्रो र तेस्रो दल नेकपा (एमाले) र माओवादी (केन्द्र) । अरू कतिपय दल बाध्यता र आवश्यकताले बनाइएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमि र विचार अरू दलसित नमिल्ने खालको छ, किनभने जनआन्दोलन र दलहरूको प्रतिबद्धताले ल्याएको लोकतान्त्रिक गणतन्त्रमा उसको असहमति छ । एकातिर आजको बहुदलीय व्यवस्थाको कमजोरीलाई गणतन्त्रमाथि थोपर्न खोज्छ भने अर्कातिर यसको समाधान राजतन्त्रमा देख्छ । भनाइमा संवैधानिक राजतन्त्र माने पनि समस्या समाधानको जरो बलियो राजामा पाउँदा व्यवस्थापकीय हिसाबले परस्पर विरोधी देखिन्छ । यसले आजको केही संवैधानिक र कानुनी कमजोरीले दलीय अस्थिरता ल्याएको समस्यातिर आँखा चिम्ली राजतन्त्र भए रामवाण हुने कुरा गर्छ ।
कम्युनिस्ट पार्टी आफ्ना पुराना विचारबाट विचलित भई समयसापेक्ष बन्न आजको बहुदलीय संसदीय व्यवस्थामा अवतरण भएका छन् । गणतन्त्रको मुद्दामा भने राप्रपाबाहेक सबै दल एकै ठाउँमा रहेकाले र जनचेतना पनि बढिरहेकाले गणतन्त्र सैद्धान्तिक रूपमा सुरक्षित छ । तर, व्यवहार र कार्यशैलीका दृष्टिले आज स्थापित लोकतन्त्रलाई यिनै दलका घात र प्रतिघातले थिलथिलो पारिरहेको छ । यस्ता प्रवृत्तिले गणतन्त्रविरोधी केही सलबलाएको देखिए पनि ती निर्णायक तत्त्व होइनन् । नयाँ दलहरूको विकास पनि विचार र उच्च नेतृत्वमा भर पर्ने भएकाले अहिले नै भविष्य निर्धारण गर्न सकिँदैन । क्षणिक घटना वा संकेतका भरमा पार्टी सधैं एकै रूपमा जनताबाट अनुमोदित हुन्छन् भन्ने आधार पनि पाइँदैन । सरकारमा बस्दा आफ्नो अस्तित्व रक्षा हुन्छ र साधन स्रोत जुटाउन बल पुग्छ भन्ने सोचले केही अपवादबाहेक यी दल जसरी पनि शक्ति आर्जन गर्न भनी शक्तिप्रति आसक्त छन् । यस्तो आसक्ति प्रतीकात्मक हुन सक्ने र सरकारले जनमुखी काम गर्न नसके कुनै दल पनि लोकप्रिय हुने आधार भत्किँदै जानेछ ।
बहुदलीय व्यवस्था भन्नासाथ मिलीजुली सरकार बन्ने तथ्यलाई नकार्न सकिँदैन । अरू देशमा पनि मिलेर बनेका यस्ता सरकार प्रशस्त भएकाले नेपालको प्रयोगमा देखिएका अपचलनको निदान अरूतिरै खोज्नुपर्छ ।
हामीकहाँ पहिलो समस्या हालको चुनाव प्रणालीमा निहित छ । सिद्धान्ततः ठीक भए पनि ४० प्रतिशत भनिएको समानुपातिक प्रणालीको दुरुपयोग भएकाले यसले अस्थिरता बढाउन मद्दत गरेको छ । यसमा नेताको भूमिका धेरै छ, किनभने संविधानको मर्मअनुसार मनोनीत नभएका कारण आसेपासेले मौका पाए । उनीहरू नेतामुखी भई उसको आकांक्षाअनुकूल भूमिका निर्वाह गर्ने भए । यसको सुधार कसरी गर्न सकिन्छ, सबैको ध्यान जाने बेला भएको छ । समावेशीका अरू अनेक विकल्प छन् ।
दोस्रो समस्या हो– नेतृत्वको भूमिका र सिद्धान्त । नेताकेद्रित अवस्था रहुन्जेल र दलका अन्य नेताले प्रभावकारी भूमिका खेल्न नसक्दा नेताको लहैलहैमा पार्टी चलाउने परिपाटी बसेको हो । नेताको प्रभावकारी भूमिकाको अपेक्षा जहिले पनि गर्नुपर्छ तर नेता स्वच्छ, लचिलो र प्रभावकारी हुनुपर्छ । झन् मिलीजुली सरकार चलाउन त संस्कार र प्रभाव अति आवश्यक छ ।
अस्थिरताको तेस्रो कारण सानाठूला पार्टीका नेताको असीमित महत्त्वाकांक्षा हो । एकाएक मन्त्री, उपप्रधानमन्त्री र ताकपरे प्रधानमन्त्री बन्ने होडबाजी चल्न थाल्दा जुन दल र नेता जोसित पनि मिली सरकार बनाउने धन्दामा लागेका छन् । यस्ता अनियन्त्रित महत्त्वाकांक्षाले सरकार अस्थिर भइरहने चलन बस्न थाल्दा र जनताका समस्या समाधान हुन नसक्दा जनआक्रोश बढ्ने आधार बन्दै गइरहेको छ । संसद्मा कुनै विधेयक पास हुन सक्दैन र संसद् भाषण गर्ने थलो मात्र भएको छ । दाग लागेका व्यक्ति सरकारमा हुँदा पनि प्रधानमन्त्रीले अकर्मण्य भई सत्ता जोगाउन उनीहरूकै रक्षा गर्नुपर्ने भएको छ । एकएक संसद्को मूल्य बढ्दा जसरी भए पनि सरकार टिकाउने एकमात्र काम सबै प्रधानमन्त्री हुनेहरूमा पाइन्छ । कुनै दलका नेता अपवाद छैनन् । झन् आजको प्रादेशिक राजनीतिमा देखिएको भाँडभैलो लज्जास्पद छ ।
यस्तो शृंखला आजको मात्र होइन । २०४७ सालको संविधानअनुसार बनेको नेपाली कांग्रेसको एकमना सरकार आफ्नै पार्टीभित्रको कलहले टिक्न सकेन र त्यसपछि कुनै दलको बहुमत नहुँदा अनेक किसिमका सरकारका प्रयोग भए र घरीघरी सरकार बन्दै, ढल्दै गए । गोमन सर्पले फणा उठाएसरह राजा ज्ञानेन्द्र फेरि सक्रिय भूमिकामा आई संविधान तहसनहस पारे । यसले अर्को आन्दोलनको बाटो तयार पार्दै गयो जसलाई माओवादी जनयुद्धले फराकिलो र प्रस्ट पारी लोकतान्त्रिक गणतन्त्र आयो । संसदीय व्यवस्थाबाट देश निर्माण सम्भव नहुने भन्ने मान्यतामा आधारित माओवादी जनयुद्ध बढे पनि यसको निकास भने संसदीय व्यवस्थामा पाइयो । आज सबै दल यसैमा खेलिरहेका छन्, तर खेल भने फोहोरी हुँदै गइरहेको छ । पहिलो बहुदलीय संविधानअन्तर्गत भएका अस्थिरताका लहर गणतन्त्रमा पनि दोहोरिएका छन् । के पनि सिद्ध भएको छ भने दुई तिहाइ, बहुमत जे भए पनि सरकार अस्थिर भएका छन् र जनअविश्वास बढेको छ । नेताहरूको स्वार्थको लडाइँले नेकपाको करिब दुई तिहाइको सरकार पनि पूरै समय चल्न सकेन । यसको दोष गणतन्त्रमाथि थोपर्ने कि गम्भीर भई निदान खोज्ने हो ?
चौथो पक्ष, हामीकहाँ न्यूनतम राजनीतिक संस्कार (पोलिटिकल कल्चर) नै भएन । यो नभई लोकतन्त्र सधैं धराशायी हुन्छ, जसको प्रमाण विश्वभरि नै पाइन्छन् । संयुक्त राष्ट्र अमेरिकाजस्तो विकसित मानिएको लोकतन्त्रमा ट्रम्प प्रवृत्ति हावी भई स्थापित व्यवस्थामा घातका संकेत त्यहाँकै विद्वान्हरूले दिइरहेका छन् र लोकप्रियतावादको चापले व्यवस्थाका मान्यतामा प्रश्न उठाउन थालिएको छ । नेताले संस्कार र सिद्धान्तको खाडलले अराजकतन्त्रलाई प्रश्रय दिन्छ भन्ने कुराको हेक्का नराखे व्यवस्था धरापमा पर्छ । नेपालका नेतामा त्यस्तो संस्कारको कमी त छँदै छ तर आत्मकेन्द्रित र शक्तिको बढी आसक्तिले समस्या थपेको छ । त्यसैले अमेरिकी राजनीतिशास्त्री माइनर विजनरले भारतको राजनीतिका सम्बन्धमा भनेका थिए– ‘ज्यादै धेरै राजनीति, ज्यादै थोरै नागरिक भावना ।’
अब लोकप्रियतावादको नारा कमजोर भइरहेछ, किनभने समीक्षात्मक मूल्यांकन गर्ने क्षमता जनताले राख्न थालेका छन् । संसद्को बहस, प्रतिपक्षको भूमिकामा गुणात्मक परिवर्तन भइरहेको आभास पाइन्छ । अर्को उल्लेख्य पक्ष सञ्चारको भूमिकालाई लिन सकिन्छ । त्यसैले दक्षिण एसियाली देशका सन्दर्भमा नेपालको लोकतन्त्र परिष्कृत गर्न सञ्चार आज एक अनिवार्य आवश्यताका रूपमा देखिएको छ । यसले अनेक घोटाला र भ्रष्टाचार उजागर गरेको छ । प्रकरणमा सम्मिलित राजनीतिज्ञलाई लगाम लगाई उत्तरदायी बनाउने अभियानमा मोटामोटी रूपमा पत्रपत्रिका, रेडियो र टेलिभिजन बढी प्रभावकारी भएका छन् । तर सामाजिक सञ्चारमाध्यम भने कतिपय रूपमा अराजक भएका छन्, तिललाई ताड बनाउने धन्दामा उद्यमशील छन् । कतिपयले वैकल्पिक सञ्चारका रूपमा भूमिका खेलिरहेका पनि छन् । तर सञ्चारले उजागर गरेका अनेक काण्ड राजनीतिक दलहरूले भरसक पन्छाई उम्किने बाटो लिएका देखिन्छन् । धेरै घटना ढाकछोप गर्न दलका नेता एक हुने गरे पनि उनीहरू जनताका अघि नांगिने र बिस्तारै अवमूल्यनमा पर्न थालेका छन् । यिनीहरूले टाउको लुकाउने निहुँमा राजनीतिलाई अस्थिर बनाउन योगदान पुर्‍याएका छन् ।
अन्त्यमा, अस्थिर राजनीति बनाउन विदेशी शक्तिराट्रहरूको हातको भाष्य पनि बनाइएको छ । कतिपय अवस्थामा यी जनधारणा सही पनि भएका छन् । यो नेपालको भूराजनीति र नेपाली राजनीज्ञिको कमजोरीले भएका छन् । कहिले विदेशी आमन्त्रित हस्तक्षेपको भूमिकामा देखिन्छन् किनभने संकट पर्दा वा संघर्ष दौडानमा उनीहरूको सहयोगको अपेक्षा गरिएको हुन्छ । यो स्वाभाविक हो । २००७ साल, २०४६ र २०६२/६३ मा भारत र अन्य उदार लोकतन्त्रमा विश्वास गर्ने देशको भूमिका उल्लेख्य रहेको हो । संसारमा यस्ता अभ्यास नचल्ने होइन । आजको विश्वमा अहस्तक्षेप भनी घरभित्र गरिने दमनलाई अनुमोदन गर्न सक्ने अवस्था रहँदैन । अमेरिकाले आफ्नो केही नलागे पनि चीनको मानवअधिकारको कुरा उठाइरहन्छ, जसलाई चीन आन्तरिक मामलामा हस्तक्षेप गरेको ठान्छ । नेपालका सन्दर्भमा भने विदेशी चासो बढी प्रभावकारी हुन्छ, किनभने नेपालजस्तो देशको रणनीतिक स्वतन्त्रता (स्ट्राटजिक अटोनमी) कम हुन्छ । तर, व्यवस्था ठीक रूपमा सञ्चालन गरी देश विकासमा लागे मात्रै निर्णय लिने क्षमता बढ्छ ।

सम्पादकलाई चिठी

लगानी प्रवर्द्धनको मोडल

भारतमा वैदेशिक लगानीका विषयमा सानो समस्या आए पनि त्यो सिधै प्रधानमन्त्री स्तरबाट हेर्ने र सम्बोधन गर्ने गरिन्छ । प्रधानमन्त्री कार्यालयमा रहेको वैदेशिक लगानी शाखाबाट हरेक समस्या सोझै प्रधानमन्त्रीलाई सुनाउने गरिन्छ । प्रधानमन्त्रीले नै सिधै समस्या सुन्ने भएपछि कर्मचारीले तलमाथि गर्ने प्रश्नै उठ्दैन । यसैले भारतमा ठूलो स्तरमा वैदेशिक लगानी आएको छ । हुन त नेपालमा पनि लगानी बोर्ड नभएको होइन । तर प्रधानमन्त्री स्तरबाट सिधै सुनुवाइ नहुँदा लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । भारतीय मोडल अपनाउन सके वैदेशिक लगानी बढ्न सक्छ ।
विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषका साथै ५५ देशका उत्सुक लगानीकर्ता नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा सहभागी हुँदै छन् । यो खुसीको कुरा हो । तर वास्तविक खुसी त्यो बेला हुन्छ जब नेपालले प्रस्तुत गरेका आयोजनामा उनीहरूले लगानी गर्ने प्रतिबद्धता जनाउँछन् र लगानी पनि गर्छन् । सोचेअनुरूप लगानी भए देशको समृद्धिमा ठूलो प्रभाव पर्नेछ । तर विगतको अनुभव खासै उत्साहजनक छैन । सन् २०१७ र १९ को लगानी सम्मेलनमा प्रतिबद्धता गरिएकामध्ये १५ प्रतिशत लगानी पनि आउन सकेन । प्रतिबद्धता जनाउने तर काम नहुने हो भने त्यसको कुनै अर्थ हुने छैन । यसर्थ किन प्रतिबद्धताअनुरूप वैदेशिक लगानी आउन सकिरहेको छैन ? के–के कुरामा कमी देखियो ? के–केमा सुधार गर्नु अत्यावश्यक छ ? त्यसबारे गम्भीर चिन्तन मनन हुनु जरुरी छ । झन्झटपूर्ण ऐन, कानुन रहिरहेसम्म कोही पनि लगानी गर्न आउँदैन । लगानीकर्ताका लागि अनुकूल वातावरण र सम्मान दुवै दिन सक्नुपर्छ । कुनै पनि फाइल अनावश्यक रूपमा रोक्ने कर्मचारीलाई कडा कारबाही गर्नुपर्छ ।
नेपालमा वैदेशिक लगानीका सफल परियोजनाहरू नभएका होइनन् । तिनीहरूलाई यस्ता सम्मेलनमा राम्रोसँग प्रस्तुत गर्न सके मात्र पनि अन्य धेरैलाई आकर्षण गर्न सकिन्छ । नेपालमा खोलिएको युनिलिभरले बर्सेनि सय प्रतिशतभन्दा बढी लाभांश बाँड्ने गरेको छ । एनसेलले नेपालमा लगानी गरेको भन्दा सय गुणा बढी लाभांश विदेश लगिसक्यो । भोटेकोशी जलविद्युत्बाट पनि लगानीकर्ताले फाइदा पाएका छन् । जान्नेले पिठोलाई पनि बिक्री गर्न सक्छ । केही दिनअघि नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले सरकारी वकिल कार्यालयमा बयान दिएर फर्केपछि सञ्चारकर्मीसामु ‘उद्यमी’ व्यापारीलाई यसरी हरेसमेन्ट गरेको देखेपछि नेपालमा को लगानी गर्न आउँछ ?’ भनेर प्रश्न गरेका थिए । तर उनलाई उद्योग गरेबापत सरकारले बयान लिन बोलाएको हो कि सरकारी जग्गा हिनामिना भएबापत ? यसरी एउटा कुरालाई अर्कोसँग जोड्नु राम्रो होइन ।

गोपाल देवकोटा, गौरीनगर, काठमाडौं

सम्पादकलाई चिठी

परिश्रममा बाँच्नेलाई देशभित्रै रोजगारी

राज्यसत्ता उदासीन बन्दा विदेश पलायन हुनेहरूको संख्या बढिरहेको छ । जान्ने, बुझ्ने भएपछि धेरैजसो विद्यार्थी देश छाड्न एउटा खुट्टा उचाल्छन् । कर्मचारी, खेलाडी, कलाकार, सर्वसाधारणले मुलुकमा आफ्नो भविष्य देख्न छाडेका छन् । सरकारले विदेश पठाउने काम व्यवस्थित गर्न, कूटनीतिक पहललाई प्राथमिकता दिन नसक्दा बिदेसिएका कतिपय कामदार बिचल्लीमा पर्ने गरेका, अनेक शारीरिक र मानसिक रोगबाट ग्रसित बनेको यथार्थबाट हामी अनभिज्ञ छैनौं । तथापि बेलाबखत सञ्चारमाध्यममा देशको माटोमा भिजेर पसिना बगाउनेहरूको उद्यमशीलता, मिहिनेतबाट उठेको व्यवसायबारे चर्चा हुने विषय उल्लेख्य छन् । यसै सन्दर्भमा युवा ग्यालरी पृष्ठमा प्रकाशित ‘लेयर्समा जमेका युवराज’ शीर्षकको खबर देशभित्र कुनै सम्भावना नदेखी ऋणधन गरेर, घरजग्गा बेचेरै भए पनि वैदेशिक रोजगारीमा जान मरिहत्ते गर्ने युवाका निम्ति प्रेरणादायी बन्न सक्ने देखिन्छ । इलेक्ट्रिसियनको काम सिकेका कपिलवस्तुका युवराज अधिकारीले १२ वर्षअघि रोजगारीका निम्ति कतार जाने सोच बनाएका थिए । भिसा आएपछि भने त्यहाँको काम र दाम चित्तबुझ्दो नदेखेर गाउँमै कुखुरा पाल्न सुरु गरेका थिए । अन्डाका लागि लेयर्स पालेर काम सुरु गरेका अधिकारी अहिले जिल्लामै बढी अन्डा उत्पादन गर्ने व्यवसायी बनेका छन्, जसबाट उनको वार्षिक आम्दानी १० लाख रुपैयाँभन्दा बढी पुगेको छ । विदेश गएको भए त्यहाँको तनावग्रस्त वातावरणमा जति रगत, पसिना बगाए पनि मुस्किलले १–२ लाख रुपैयाँ जम्मा गर्न सक्ने थिए ।
सरकारले कृषि क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा ध्यान नदिँदा व्यवसायबाट पलायन हुनेहरू पनि उत्तिकै छन् । तथापि कुखुरापालन मात्र नभई थोपा सिँचाइ, तरकारी, दुग्ध उत्पादन, फलफूल खेतीलगायतका उल्लेख्य कामको प्रचारप्रसारबाट प्रोत्साहित भई आफ्नै बलबुतामा व्यवसाय सुरु गर्नेहरू दिन प्रतिदिन बढिरहेका छन् । आकाश पातालको गफ गरेर नथाक्ने सत्ताधारीको ध्यान कहिले कृषि, पशुपालन प्रवर्द्धनमा केन्द्रित हुने हो, त्यो भने हेर्न बाँकी छ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

सम्पादकलाई चिठी

केही नेताको अवसानोन्मुख यात्रा

राजनीति क्षेत्रका कुनै बेलाका सक्रिय राजनीतिक खेलाडीहरू यतिबेला लगभग मौन अवस्थामा छन् । कुनै बेला उनीहरूकै योजनामा पार्टीगत मात्र होइन, देशको कार्यपालिकामा नै ठूलो हलचल ल्याउने गर्थ्यो । त्यस्ता पात्रहरूमध्ये कोहीले अहिले तत्कालीन अवस्थामा आफू सक्रिय रहेको दल त्यागिसके भने कोही सोही पार्टीमा भएर पनि भूमिकाविहीन छन् ।
पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्छ, एउटा उद्देश्य प्राप्त गरिसकेपछि अर्को चरणमा प्रवेश गर्नुपर्छ भन्ने आफ्नो नीतिमा पार्टी अध्यक्ष प्रचण्ड सहमत हुन नसकेपछि २०७२ असोज ९ मा तत्कालीन माओवादी पार्टीबाट अलग भएका बाबुराम भट्टराई अहिलेसम्म आफ्नो लक्ष्यमा पुग्न सकेका छैनन् । माओवादी पार्टी परित्यागपछि विभिन्न प्रयोग गरेका भट्टराई अहिले एकादेशको पात्र जस्ता बनेका छन् । पार्टी एकता गर्ने गरी २०७९ को संघीय निर्वाचनमा माओवादीकै चुनाव चिह्नबाट पार्टीलाई निर्वाचनमा सामेल गराएका भट्टराई निर्वाचनपछि प्रचण्डले वास्ता नगर्दा राजनीतिको बिलखबन्दमा परेको देखिन्छ ।
२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको प्यानलमा रहेर केपी ओलीविरुद्ध उभिँदै आएका नेता भीम रावल २०७८ मंसिरमा चितवनमा भएको एमालेको १० औं महाधिवेशनसम्म आइपुग्दा पार्टीभित्र एक्लै भइसकेका थिए । विधिविधानको कुरा उठाएर निर्वाचन प्रक्रियामार्फत पार्टीमा नेतृत्व चयन हुनुपर्छ भन्ने सिद्धान्तमा टेकेर ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि रावलको पनि राजनीतिक भविष्य लगभग सकिएको थियो । केही दिनअघि उनले अब एमाले छाड्नेतर्फ संकेत गरेका छन् तर अबको यात्राबारे केही खोलेका छैनन् । अब उनले आफ्नै नेतृत्वमा नयाँ दल खोले भने स्थापित हुन पक्कै पनि समय लाग्ने नै छ । कुनै पार्टीमा मिले भने एकपटक निर्वाचनसम्म लड्न सक्ने देखिन्छ ।
रावलभन्दा पनि अग्रज र माथिल्लो तहका एमाले नेता हुन् वामदेव गौतम । रावल र गौतम एमालेमा रहँदा पटकपटक मन्त्री र पार्टीका विभिन्न पदमा रहे । महाकाली सन्धिमा विवाद बढेपछि पार्टीको लगभग आधा शक्ति लिएर माले पार्टी गठन गरेका गौतमले २०५६ सालमा भएको निर्वाचनमा नील खाए र पुनः एमालेमै फर्किए । त्यसपछि पनि उनले लगातार जस्तै पार्टी र सरकारमा रोजेको पदमा हालीमुहाली गरिरहे । नेकपा गठनपछि उनले कहिले ओली र कहिले प्रचण्ड–नेपाल पक्षमा ओहोरदोहोर गरिरहे । नेकपा विभाजनपछि भने ओली र प्रचण्ड–माधव कुनै पक्षमा पनि नलागी गौतम अलग रहे । अहिले उनी पनि राजनीतिको किनारमा पुगेका छन् ।
मधेशकेन्द्रित राजनीतिमा छुट्टै पहिचान बनाएका नेता हुन् राजेन्द्र महतो । कुनै बेला सद्भावना पार्टीको नेतृत्व गरेका महतोको संसद् र संविधानसभामा प्रतिनिधित्व होस् या नहोस् सरकारमा भने बाह्रैमास प्रतिनिधित्व भइरहन्थ्यो । पछिल्लो समय मधेशकेन्द्रित विभिन्न पार्टी जुट्ने र फुट्ने क्रममा लोकतान्त्रिक समाजवादी पार्टीको वरिष्ठ नेताका रूपमा रहँदै आएका महतोले गएको फागुन १४ मा महन्त ठाकुरको नेतृत्वमा रहेको उक्त पार्टी छाडे । यतिबेला उनी पनि दलविहीन छन् । उनी पनि अब कुनै पार्टीमा आबद्ध हुन्छन् या नयाँ दल जन्माउने बाटामा लाग्छन्, त्यो प्रतीक्षाको विषय हो । कुनै बेला कांग्रेसमै रहेका, बीचमा आफ्नै नेतृत्वमा विभिन्न दल गठन गरेर राजनीति र सत्तामा बारम्बार उपस्थिति जनाइरहने अर्का नेता हुन् विजयकुमार गच्छदार । भ्रष्टाचारको मुद्दाले थलिएपछि उनी पनि राजनीतिबाट पलायन जस्तै छन् ।

सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

सम्पादकलाई चिठी

नागरिकता लिन सास्ती

बाबु नभएको व्यक्तिले आमाको नाउँबाट पनि नागरिकता पाउँछन् भन्ने सुनिएको थियो । कानुनले एउटा भन्दो रहेछ, नागरिकता वितरण गर्न कार्यालयका कर्मचारीले अर्को व्यवहार गर्दा रहेछन् । नेपालमा नेपाली आमाको गर्भबाट जन्मेको सन्तानले नेपाली नागरिकता पाउने उसको नैसर्गिक अधिकार होइन र ? नागरिकता बनाउन के–के चाहिने हो ? स्थानीय सरकारको सिफारिस लिएर स्वयम् आमाले फलानो मेरो छोरा वा छोरी हो भनेर प्रशासन कार्यालयमा उपस्थित हुँदा पनि नागरिकता दिन किन आनाकानी गरिन्छ ? नागरिकताबिना केही काम गर्न पाइँदैन । नागरिकता नभए जागिर खान पाइँदैन । पासपोर्ट बनाउन मिल्दैन । स्वदेशमै जन्मेको नेपालीले नागरिकता पाउन महिनौं धाउनुपर्ने कस्तो विडम्बना हो ?

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

Page 5
अन्तर्वार्ता

'निर्यात बढाउन हामीलाई विदेशी लगानी चाहिएको हो'

स्वदेशी तथा विदेशी लगानी भिरयाउने लक्ष्यका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार (आज) सुरु हुादै छ । लगानीकर्तालाई आकर्षित गर्न सरकारले अध्यादेशबाट १० वटा कानुनसमेत संशोधन गरिसकेको छ । सम्मेलनमा ९ खर्ब रुपैयााका १ सय ५० परियोजनामा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान पनि गरिादै छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुादै छन् । निकै तामझामका साथ कार्यक्रम गरिए पनि विगतका दुई लगानी सम्मेलनको उपलब्धि भने खासै देखिादैन । पहिलो लगानी सम्मेलन– २०१७ मा साढे १४ खर्ब लगानीको आशय व्यक्त गरिएकामा ३ खर्ब ३५ करोड ४७ लाख रुपैयाा मात्रै भित्रियो भने दोस्रो लगानी सम्मेलन– २०१९ मा १७ खर्ब रुपैयाा प्रतिबद्धता गरिएकामा १ अर्ब १८ करोड रुपैयाा भित्रियो । दोस्रो लगानी सम्मेलनका संयोजक तथा तत्कालीन अर्थमन्त्री युवराज खतिवडासाग सम्मेलनको औचित्य, कानुनी सुधार, लगानी भिरयाउनका लागि सरकार तथा निजी क्षेत्रले चाल्नुपर्ने कदम र लगानीमा भूराजनीतिक दबाबमाथि केन्द्रित रहेर कान्तिपुरका लागि विमल खतिवडा, सीमा तामाङ र कृष्ण आचार्यले गरेको कुराकानीको सम्पादित अंशः–

यसअघिका दुईवटा लगानी सम्मेलनमा तपाईं कहीं न कहीं आयोजकका रूपमा हुनुहुन्थ्यो । अहिले बाहिर बसेर हेर्दा आसन्न सम्मेलनको तयारी र अवस्था कस्तो देखिन्छ ?
दोस्रो लगानी सम्मेलनको संयोजक आफैं थिएँ । त्यतिखेर व्यवसायी र राजनीतिज्ञले के भनेका थिए भनेर जानकारी लिँदा तत्कालीन परिस्थितिमा राम्रै गरेका रहेछौं । अहिलेको सम्मेलन तयारीमा म छैन । जुन पार्टीमा आबद्ध छु, त्यो पार्टी सरकारमा भएकाले बाहिर बसेर केही सहयोग अवश्य रहन्छ । आयोजक नै नभएकाले तयारी कस्तो छ भन्न सकिएन । तर, एउटा आशंका पहिलादेखि नै थियो । हामीले दोस्रो लगानी सम्मेलन गरिरहँदा हतारमा केही कानुन बनायौं । केही छुटे । ती कानुन बनाउने पहल अहिलेसम्म भएको छैन । त्यसैले समय परिपक्व भइनसकेकाले तयारी पुग्दैन भनेर सम्मेलन ६ महिना पर सार्ने हो कि भनेको थिएँ । पछि आयोजकबाट दुई वर्षपछि सारे पनि हाम्रो तयारी अन्तिम अवस्थामै हुने हो, सारेर पनि अर्थ छैन, अहिले नभएको ६ महिनापछि पनि हुँदैन भन्ने कुरा आयो । फागुनमा विधेयक अधिवेशन हुँदै थियो । विधेयकमा छलफल गर्नुपर्ने हुन्थ्यो । त्यसमा लगानी सम्मेलनसम्बन्धी कानुन बनाउनुपर्थ्यो । त्यो बेला त हामीले बजेटको प्राथमिकता र सिद्धान्त भनेर निरर्थक बहस चलायौं । त्यो निरर्थक किन थियो भने सरकार परिवर्तन हुने हल्ला थियो । फागुनदेखि वैशाख बीचमा उथलपुथल धेरै भएको छ । कहिले भूकम्प गएको छ, कहिले सरकार परिवर्तन भएको छ । फागुनमा आगामी वर्ष साउनबाट आउने बजेटको सिद्धान्त र प्राथमिकताको सिद्धान्तको छलफल चलाएर मुखैमा आएको लगानी सम्मेलनको तयारीमा संसद्ले कानुन बनाउने, ऐन बनाउने एजेन्डा पछि पारियो ।
अर्को कुरा, आयोजना सम्झौताको चरणमा कति ‘सोकेसिङ’ गर्छौं, यसलाई राम्रोसँग हेर्नुपर्थ्यो । त्यसमा तयारी पुगेन । लगानी बोर्डका अनुसार १५० भन्दा बढी आयोजना सोकेसिङ गरिँदै छ । केहीमा सम्झौता हुँदै छ । केही समझदारी हुने चरणमा छन् । केही सम्भाव्य आयोजनाका रूपमा छन् । करिब एक दर्जन कानुन संशोधनको प्रक्रियामा र केही नेपाल ऐन अध्यादेशमार्फत पनि आउँदै छन् । अध्यादेश संसद् बसेको ६० दिनभित्र स्वीकृत हुनुपर्छ । नभए स्वतः निष्क्रिय हुन्छ । एउटै डर– ती अध्यादेश ऐन भएर पास नहुन्जेल नियम नबन्ने हुन्छ । दोस्रो लगानी सम्मेलनपछि हामीले तीनवटा कानुन बनायौं । त्यसका नियम बन्न एक वर्ष लाग्यो । विद्युत् ऐनमा संशोधन गर्नुपर्थ्यो । बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धी ऐनमा संशोधन गर्नुपर्थ्यो, बैंकिङ कसुरसम्बन्धी कानुनमा पनि परिवर्तन गर्नुपर्थ्यो । विदेशी विनिमय ऐनमा केही संशोधन गर्नुपर्नेछ । विदेशी लगानीका सम्बन्धमा हेजिङका कुरा आउँछन् । हेजिङ अहिले नियमावलीबाट चलिरहेको छ । त्यसलाई विदेशी विनिमय ऐनमा फिट गरेर लिएर जानुपर्थ्यो । यस्ता आधा दर्जनजति कानुन बाँकी नै छन् । ती कानुन पर्याप्त संशोधन भएका छैनन् भन्ने अनुभूति निजी क्षेत्रको छ । अझै कानुन सुधार्छौं भनेर सरकारले लगानीकर्तालाई विश्वस्त तवरले भन्नुपर्छ । त्यसकारण, एक त संशोधनको तयारी त्यति राम्रो भएको छैन । दोस्रो, आयोजना परिपक्व ढंगले अघि बढेका छैनन् र तेस्रो, एउटा सरकारले लगानी सम्मेलन गर्ने भन्यो, अर्कोले त्यसलाई सम्हालिरहँदा अलिकति समय ढिला पनि भएको छ ।

अध्यादेश राष्ट्रपतिकहाँ पुगे पनि प्रमाणीकरण भइसकेको छैन, संसद्ले अनुमोदन गर्ला कि नगर्ला भन्ने आशंका कायमै छ । कानुन संशोधनको हिसाबले पर्याप्त तयारी नपुगेको हो भन्न सकिन्छ ?
कानुनलाई लगानीयोग्य कसरी बनाउनुपर्छ भन्नेमा लामो संसदीय अभ्यासमा रहेका पार्टी कांग्रेस र एमाले नै हुन् । अहिले एमाले सरकारमै छ । आफ्नै सरकारले ल्याएको अध्यादेशमा अन्यथा सोच्ने कुरा भएन । कांग्रेसले अघि बढाएका अध्यादेशमा उसले विरोध गर्ने कुरा भएन । माओवादीका प्रधानमन्त्री हुनुहुन्छ । उहाँले ल्याएको अध्यादेश नाकको चालले पास हुन्छन् । यसमा दायाँबायाँ हुने कुरै छैन ।

कतिपय अध्यादेश महत्त्वपूर्ण हुँदाहुँदै पनि फेल भएका उदाहरण छन् नि ?
त्यो त राजनीतिक बेइमानी हो । अघिल्लो दिन बजेट पेस गरेर भोलिपल्ट यो बजेट काम लाग्दैन भनिएको पनि छ । दुई दिन अगाडिसम्म अर्थतन्त्र ठीक भनेर दुई दिनपछि अर्थतन्त्र खत्तम भो पनि भनिएको छ । अध्यादेशले कानुनमा परिवर्तन हुने समस्या देख्दिनँ । त्यसका नियम बनाउँदा ऐनले दिएका सुविधा नियमावलीले अलि संकुचित गर्दै लग्ने, यसलाई नखोलौं, नचलाऔं भन्ने कर्मचारीतन्त्रमा एउटा धारणा बन्न सक्छ । जस्तोः सार्वजनिक निजी साझेदारी र लगानीसम्बन्धी ऐन बनायौं । पछि प्रधानमन्त्री कार्यालयकाहरूले लगानी बोर्डलाई यो अनुमति र अधिकार दिनु हुँदैन, स्वेच्छाचारिता बढ्छ, उत्तरदायित्वको कमी हुन्छ भन्दै कस्दै लगेर नियम झन् कडा बनाइदिए । त्यस्तो चाहिँ हुन भएन ।

पहिलो लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्धता रहेकामा ३ खर्ब रुपैयाँ मात्र आयो, दोस्रोमा १७ खर्ब प्रतिबद्धता थियो, एक अर्ब १८ करोड मात्रै लगानी आयो भन्ने छ । प्रतिबद्धता हुने तर आँकडा हेर्दा थोरैभन्दा थोरै लगानी भित्रिने अवस्थाले लगानी सम्मेलनको के अर्थ ? लगानी ल्याउनै सकिँदैन भने तामझामका साथ यस्तो कार्यक्रम किन गर्ने ?
लगानी सम्मेलन गरेको भोलिपल्टै रिजल्ट देखिँदैन । सरकारका नीति तथा कार्यक्रम, लगानीसम्बन्धी अवधारणा, दृष्टिकोण, सोचहरू लगानी सम्मेलनले मार्केटिङ नै गर्ने हो । दोस्रो लगानी सम्मेलन गरिसकेपछि हामी उत्साहित भएका थियौं । धेरै किसिमका प्रस्ताव आएका थिए । एक वर्ष पनि भएको थिएन, कोभिड–१९ को चपेटामा पर्‍यौं । २०२० देखि विश्वव्यापी लगानी २०२३ सम्म घट्दो प्रवृत्तिमा रह्यो । २०२४ ले अलिकति आशा जगाएको छ । त्यो पनि दुई/तीन प्रतिशतले सुधार हुन्छ कि भन्ने छ । कोभिडले गर्दा लगानीको वातावरण बिग्रियो । त्योसँग सम्बन्धित आर्थिक मन्दीले असर गर्‍यो । खासगरी धेरै लगानी गर्ने चीन र भारतबाहेकका अरू देशको आर्थिक मन्दीका कारण युरोप, अमेरिकाका तर्फबाट हुने लगानी र कतिपय एसियाली देशबाट हुने लगानीमा पनि असर पर्न गयो । यति हुँदाहुँदै पनि राम्रो आर्थिक वृद्धिदर हासिल गरेका दुई छिमेकी देश छन्, उनीहरूको लगानी भएको भए किन विश्व हेर्नुपर्थ्यो भन्ने पनि होला । तर, छिमेकीहरूले हाम्रोमा गर्ने लगानीमा प्रतिस्पर्धा पनि रह्यो । कहिलेकाहीं एकले अर्कोलाई छेक्ने, रोक्ने रणनीति पनि हो कि भन्नेले कतिपय लगानी प्रभावित भएका छन् । भूराजनीतिक संवेदनशीलता र नेपालमा कुनै एउटा मात्र देशको लगानीले प्रश्रय नपाओस् र लगानीको प्रभुत्व नरहोस् भनेर अर्कोले रोक्ने तर आफू पनि लगानी नगर्ने प्रवृत्ति छ । जलस्रोतको सन्दर्भमा कुरा यही हो । हामीले १० वर्षअघि सम्झौता गरेको माथिल्लो कर्णाली एउटा उदाहरण हो ।

भूराजनीतिको सन्दर्भमा छिमेकी देशले अस्थिरता चाहेको हो कि हाम्रो राजनीतिक अकर्मण्यता हो ?
राजनीतिक रूपमा जुन किसिमको आर्थिक कूटनीति अपनाउनुपर्थ्यो, त्यो हामीले अपनाउन सकेनौं । कहिलेकाहीं लचकदार भइदिन्छौं, कहिले यता कहिले उता ढल्किन्छौं । स्वाभाविक रूपमा नेपाल भूराजनीतिको संवदेनशील क्षेत्रमा पर्छ । नेपालप्रति दुईवटा मात्र नभई तीनवटै शक्तिको उत्तिकै चासो छ । हामीले हाम्रो पोजिसनलाई कसरी स्थिर राख्छौं, कसरी सन्तुलित परराष्ट्र नीति तय गर्छौं, त्यसका आधारमा आर्थिक कूटनीति परिचालन गर्नेतर्फ अघि बढ्छौं । हामीले एमसीसी परियोजना अघि बढाउन बबन्डर नै गर्‍यौं । किन अमेरिकाबाट लिनुपर्‍यो भन्दै हामीमध्ये केहीले बीआरआईको वकालत गरेका थियौं । एमसीसी पास भएपछि बीआरआई रोकियो । जो बीआरआईको पक्षमा वकालत गर्थे, आज उनीहरू पछि परेका छन् । नेपालले बीआरआई अघि नबढाउनुमा अन्य मुलुकको अवरोध हो कि भन्ने चासो लगानी सम्मेलनमा भाग लिन आएका चिनियाँ टोलीहरूले गर्न थालेका छन् । बीआरआई अघि बढाउन मुलुकको प्राथमिकता, व्यावसायिक स्वार्थ, दूरगामी रूपमा नेपालले धान्न सक्ने व्यावसायिक क्षेत्र हो कि होइन भन्ने हेर्न जरुरी छ । कसैले अवरोध गरेको खण्डमा तिम्रो चासोको विषय होइन, तिमीविरुद्ध हुने लगानी नेपालले भित्र्याउँदैन भन्न सक्नुपर्छ । दक्षिण क्षेत्रमा उत्तरी मुलुकले पूर्वाधार बनाउन खोज्दा रोक्ने, उत्तरमा दक्षिणका देशले केही गर्न खोज्यो भने उत्तरकाले रोक्ने प्रवृत्ति छ । उद्योग, व्यवसाय, लगानीलाई तिम्रो प्रतिकूल हुने गरी प्रयोग नगर्ने, सुरक्षामा आँच नपुर्‍याउने भन्दै नेपालले पनि आफ्नो शक्तिको प्रयोग गरी दुवै छिमेकीलाई विश्वस्त दिलाउन सक्नुपर्छ ।

अर्कोतर्फ लगानी आउन नसक्नुको पछाडि तपाईंले नेपालको निजी क्षेत्रलाई समेत दोष लगाउनुभयो । तर खासमा सरकारले वातावरण बनाइदिने र विश्वास लिन नसकेको हैन र ?
निजी क्षेत्रले कति तयारीका साथ आयोजनाको समझदारी गरेको थियो, त्यो म अध्ययन गर्दै छु । हाम्रै निजी क्षेत्र संयुक्त लगानीमा ल्याउने भनेर लजिस्टिक सर्भिसेस, वेयर हाउजिङ, ट्रान्सपोर्ट सर्भिसेस, म्यानुफ्याक्चरिङका यावत् कुरा लिएर आउनुभएको हो । सरकारले निजी क्षेत्रलाई विश्वास गरेन भन्ने कुरा आउँछ । विश्वास गर्दा लगानीको समझदारी गर्नुभयो । त्यसपछि अलिकति वातावरण बिग्रियो । करका कारण, व्यावसायिक वा वित्तीय कारण केही सरकारको निगरानीमा पर्नुभयो होला, उहाँहरू हच्किनुभयो । राजनीतिक संरक्षण पाइन्छ अनि लगानीको वातावरणमा काम गर्छु भनेर व्यवसायीले सोच्न हुँदैन । राजनीतिक संरक्षण होइन, कानुनी संरक्षण खोज्ने हो । लगानीकर्ताको मनोवृत्ति राजनीतिक संरक्षण पाइँदैन होला, पाए पनि खास घरानाले पाउने होला, त्यसैले किन लगानी गर्ने भन्ने छ । समस्या यही हो । राजनीतिक तहमा नचाहिने गरी व्यावसायिक संरक्षण दिएको दृष्टान्त भएकाले व्यवसायीलाई यस्तो लाग्नु स्वाभाविक पनि हो ।
ऐन बनायौं तर नियम बन्न समय लाग्यो । कम्पनी कानुन संशोधन गर्छौं भनेर मैले नै बोलेको थिएँ । अहिलेसम्म भएको छैन । व्यवसायमा पेटेन्ट, डिजाइन, अरू बौद्धिक सम्पत्तिको संरक्षण नगरिदिने हो भने कसरी लगानीकर्ता आउँछन् ? विदेशी विनिमय ऐनमा केही व्यवधान थिए । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐनलाई खारेज गरेर विदेशी विनिमय ऐन र त्यसैमा हेजिङको पनि व्यवस्था गरेर ल्याउने भनिएको थियो । म हुँदा मन्त्रिपरिषद्मा लगेका विधेयक त्यत्तिकै बसिरहेका छन् । कहिलेकाहीं वित्तीय क्षेत्रमा लगानीको राम्रो वातावरण बनाउन वैकल्पिक फाइनान्सिङ मेकानिजममा लग्नका लागि धितोपत्र ऐनमा पनि संशोधन जरुरी छ । जति पनि वैकल्पिक फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, हेज फन्ड छन्, यी सबैका लागि नियम र नियमावलीले मात्र पुग्दैन । ऐनले व्यवस्थित गर्नुपर्छ । सार्वजनिक निजी साझेदारीका परियोजना अघि बढाउन केही काम गर्नुपर्छ । ठूला पूर्वाधार आयोजनाको शीघ्र कार्यान्वयनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्छ । यसको विधेयक मैले नै संसद्मा दर्ता गराएको हो, त्यो बेला टेबुल हुनै दिइएन । सार्वजनिक निजी साझेदारीका धेरै आयोजनाको खरिदसम्बन्धी व्यवधान सार्वजनिक खरिद ऐनले रोक्ने गरेको छ । उक्त ऐनमा खासगरी भायबिलिटी ग्याप फन्डिङको कुरा छ, जस्तैः बुढीगण्डकी जलविद्युत् आयोजना । यसमा सरकारले पैसा नहाली सम्भव छैन, सरकार एक्लैले पनि गर्न सक्दैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सवालमा पनि यही हो । यस्ता आयोजना कार्यान्वयनमा कानुनी व्यवस्था गर्न सार्वजनिक खरिद ऐनमा पनि संशोधन जरुरी छ ।

मतलब यो पर्याप्त भएन ?
यो पर्याप्त छैन । अब सरकारले ल्याउन नसकेका कानुन तीन महिनाभित्र ल्याउँछौं भनेर प्रतिबद्धता गर्नुपर्छ । विदेशी लगानीकर्ताले लगानीको सुरक्षा खोज्ने धेरै कुरा छन् । लगानीको सुरक्षा खोज्नेमा विवाद समाधानको उपाय के हो ? यो मुख्य कुरा हुन्छ । यसमा हाम्रा न्यायालय निष्पक्ष छन्, तर कति छिटो निर्णय गर्छन् वा कति व्यावसायिक ढंगले निर्णय गर्छन्, यो महत्त्वपूर्ण छ । अहिले नेपाल ‘ग्रे लिस्ट’ मा पर्ने संक्रमणकालमा छ । एक वर्षभित्र कति कानुन बनाएर कार्यान्वयनमा लगिसक्नुपर्नेछ । भएका कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेछ । त्यसो हो भने सम्पत्ति शुद्धीकरणको विषयमा राम्रो गरेर नेपाल वित्तीय कारोबारमा जवाफदेही, पारदर्शी ढंगले अन्तर्राष्ट्रिय वित्तीय कारोबारको मापदण्डअनुसार चल्छ भन्ने सुनिश्चित गराउनुपर्नेछ । हाम्रोमा कतिपय लेखा प्रणाली अर्थात् अडिटर्सको नियमन गर्ने प्रणाली पनि हुनुपर्छ । विवाद समाधानका लागि उचित र छिटो छरितो व्यवस्थापन प्रणाली हुनुपर्छ । एकै ठाउँबाट सेवा दिने कुरामा कुनै पनि कर्मचारीले खटाएको भरमा गर्दैन । राष्ट्र बैंक या उद्योग मन्त्रालयको मान्छेलाई लगानी बोर्डमा पठाएर यो निर्णय गर भन्दा उसले गर्न सक्दैन । आफूभन्दा माथिका कर्मचारीको हस्ताक्षर लिन्छ र विचार बुझेर काम गर्छ । यसरी काम गर्न खटिएको कर्मचारीले पूर्ण रूपमा अधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था गरिदिनुपर्छ । कर्मचारीतन्त्र साँच्चैको कर्मचारीतन्त्र छ । सहजीकरण गरौंभन्दा आफू कसरी सुरक्षित रहने वा जोखिम जति मैले लिने, नाफा जति उसले कमाउने भन्ने मनोवृत्ति छ ।
हामीले ६ अर्बभन्दा तलका आयोजना धेरै खोज्ने हो । ठूलाठूला आयोजना सीमित हुन्छन् । ठूला आयोजना उद्योग मन्त्रालयमा र दुई सय मेगावाटसम्मका जलविद्युत् आयोजना ऊर्जा मन्त्रालयमा जान्छन् । अब सरकारले १ सय मेगावाटभन्दा बढीका आयोजना लगानी बोर्डबाट सहजीकरण हुन्छन् भन्नुपर्छ । एकद्वार सेवा ऊर्जा मन्त्रालयमा छैन । मन्त्रालय आफैं, ऊर्जा विभाग, ऊर्जा नियमन आयोग, नेपाल विद्युत् प्राधिकरण, वन, कम्पनीमा जाँदा उद्योगमा जानुपर्‍यो । सबैभन्दा बढी लगानी गर्ने जलस्रोतमा हो । यसको ठूला आयोजनामा लगानी गर्न जटिल छ । त्यहाँका समस्याबारे प्रवर्द्धकलाई सोध्ने हो भने कति ठाउँमा पत्रम् पुष्पम् गर्नुपर्छ भनेर उहाँहरू भन्नुहुन्छ । त्यति गरिसकेपछि आयोजनास्थलमा विद्यालय, स्वास्थ्यचौकी, बाटो, वृक्षरोपण गर्नुपर्ने माग हुन्छ । मानौं उहाँहरू स्थानीय विकासका एजेन्ट हुनुहुन्छ, जलविद्युत् उत्पादकहरू होइन । यसो गर्दागर्दै विद्युत्को लागत बढ्छ । सबै उत्पादक प्रवर्द्धक अलिअलि बेइमान हुनुपर्ने अवस्था छ, मैले घूस खुवाएँ भनेर त्यहाँ रकम राख्न पाइएन । राजनीतिक दललाई चन्दा दिएको पनि लेख्न मिलेन, आयोजनामा खर्च भएको भनेर हाल्नुपर्छ । हामीले यसमा पनि सुधार गर्नुपर्छ ।

तपाईंले नै सन् २०१९ मा सार्वभौम मूल्यांकन (कन्ट्री रेटिङ) गर्ने विषय उठाउनुभएको थियो । यस वर्ष पनि सम्मेलनअघि कन्ट्री रेटिङ गर्ने भन्ने थियो । तर, अहिले अलपत्र छ, यसमा हुनुपर्ने वा गर्नुपर्ने के हो ?
लगानीसँग कन्ट्री रेटिङ जोडिएकै हुन्छ । विदेशी तथा स्वदेशी लगानीकर्ताले इक्विटी ल्याउने सन्दर्भमा ‘कन्ट्री रेटिङ’ ठूलो विषय होइन । मुलुकको आर्थिक ऐन, कानुन, नाफाका सम्भावना, जोखिमलगायत विषय महत्त्वपूर्ण हुन्छ । तर पूरक पुँजीका रूपमा ऋण लिन र परिचालन गर्ने सन्दर्भमा कन्ट्री रेटिङ महत्त्वपूर्ण हुन्छ । नेपालको कन्ट्री रेटिङ नभइसकेको हुनाले अधिकतम जोखिम प्रिमियम ५/६ प्रतिशत थपेर ऋण दिने गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको व्यावसायिक ब्याजदर ५/६ प्रतिशत हुन्छ । त्यसमा जोखिम प्रिमियम ५/६ प्रतिशत थपेर ऋण दिइन्छ । नेपालमै १० देखि १२ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ । नेपालमा छोटो अवधिका लागि पाइन्छ तर कहिलेसम्म पाइन्छ भन्ने थाहा हुँदैन । आज १० प्रतिशतमा लिएको ऋणको भोलि १५ प्रतिशत ब्याजदर पुर्‍याउन बैंक तथा वित्तीय संस्था पनि तयार देखिन्छन् । त्यसो हुनाले बाहिरबाट पैसा ल्याउन खोज्दा जोखिम प्रिमियम उच्च हुन्छ । कन्ट्री रेटिङ भएको खण्डमा जति कन्ट्री रिस्क हुन्छ, त्यति नै जोखिम प्रिमियम थपेर ऋण दिइन्छ । राम्रो कन्ट्री रेटिङ भयो भने रिस्क प्रिमियम घट्छ । सन् २०१९ मा हामीले कन्ट्री रेटिङ सुरु गरायौं । प्रारम्भिक परिणाम बी माइनसको लेभलमा आउने अवस्थामा पुगेका थियौं । तर कोभिडका कारण पछिल्लो चरण रोक्नुपर्‍यो । अहिले सरकारले तीन महिनामा कन्ट्री रेटिङ गर्छौं भनिरहेको छ, त्यो प्रत्युत्पादक हुन सक्छ । कन्ट्री रेटिङका लागि व्यवसायीसँग छलफल गर्ने हो । अहिले पनि व्यावसायिक परिसूचकहरू २/३ वटाबाहेक अनुकूल छैन । त्यसैले तत्काल कन्ट्री रेटिङ गर्नु जोखिमपूर्ण छ । तीन महिनाभित्र कन्ट्री रेटिङ गर्दा परिणाम इन्भेस्टमेन्ट ग्रेडमा आएन भने उल्टै ब्याकफायर हुन्छ । सरकारले चालु आर्थिक वर्षमा कन्ट्री रेटिङ गर्न हतार नगर्दा ठीक हुन्छ ।

एकातिर राजनीतिक संरक्षण खोज्नु, अर्कातिर ज्वाइन्ट भेन्चर (जेभी) का परियोजना पनि नआउनु निजी क्षेत्रको कमजोरी कि सरकारले वातावरण बनाउन नसकेको हो ?
नेपालको तीन चौथाइ अर्थतन्त्र निजी क्षेत्रकै हो । निजी क्षेत्रकै प्रतिनिधित्वमा आएका व्यक्तिले सरकार सञ्चालन गर्नुहुन्छ । राजनीतिज्ञले निजी क्षेत्रका समस्या सुन्नुपर्छ र समाधान पनि गर्नुपर्छ । तर कसैलाई लाभ र कसैलाई हानि हुने किसिमका नीति नियम बनाउनु हुँदैन । तर, सरकार फेरिनासाथ मेरो पालो आयो भन्ने सोच देखिन्छ । हाम्रो कानुन, कर प्रणाली अग्रगामी नै छन् । सुधारका कार्यक्रम पछाडि फर्केका छैनन् । निजी क्षेत्रका मानिस किन असुरक्षित महसुस गर्छन् भन्दा सरकारले वक्रदृष्टिले हेर्छ भन्ने उत्तर पाइन्छ । दोष सरकारमा बस्ने व्यक्ति, निजी क्षेत्र वा राजनीतिक वृत्तमा रहने व्यक्तिमा पनि हुन सक्छ । नेपालमा लगानीमैत्री वातावरण छैन भन्ने भाष्य बनाउन मिल्दैन । केही अपवाद होलान् । राजनीतिक सम्बन्ध नभई व्यापार व्यवसायमा लगानी गर्ने व्यक्ति पनि छन् । राजनीतिलाई बहाना बनाई नेपालमा लगानी गर्न पाएनौं, विदेशमा लगानी गर्छौं, लगानीका लागि अन्य देशमा ठाउँ छ भन्ने गलत धारणा निजी क्षेत्रमा देखिएको छ ।

बहुराष्ट्रिय कम्पनी आजियटा (एनसेल) नेपालमा लगानीको वातावरण छैन भन्दै आक्षेप लगाएर बाहिरियो । अन्तर्राष्ट्रिय लगानीको सन्दर्भमा त्यसको केही बहस, विमर्श तथा समीक्षा गर्नुपर्छ कि पर्दैन ?
नेपालमा विदेशी लगानीका सयौं आयोजना छन्, त्यसमध्ये एउटा लगानी विवादमा पर्‍यो । लगानीको वातावरण छैन भन्ने आजियटाले १० करोडको चुक्ता पुँजी ल्याउँछु भनेर ८ करोड चुक्ता पुँजी ल्याई डेढ खर्बभन्दा बढी प्रतिफल लगिसक्यो । २० वर्षमा १५ गुणाभन्दा बढी प्रतिफल लैजाने आजियटा अन्तर्राष्ट्रिय कानुन, विधि पालना नगर्ने र नेपालको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आयकर ऐन पालना नगर्ने भन्दै मुद्दा मामिलामा गयो । हारिसकेपछि नेपालमा लगानीको वातावरण छैन भन्दै बाहिरियो । अपारदर्शी र कानुन उल्लंघन गरी विश्वको कुनै देशमा काम गर्न पाइँदैन । आगामी दिनमा आउने कम्पनीलाई पनि कानुन उत्तिकै हुन्छ, मान्नुपर्छ भन्ने देखाएको छ । कुनै खास कम्पनीका लागि छुट्टै कानुन हुँदैन । त्यसैले लगानीसम्बन्धी विवाद निरूपणको संयन्त्र बलियो बनाउनुपर्छ । राजस्वसम्बन्धी विवाद धेरै आइरहेका हुन्छन् । राजस्व न्यायाधिकरणलाई बलियो बनाउने कुरा छ । विवादसम्बन्धी छिनोफानोका लागि अध्ययन अनुसन्धान गरी सरकारलाई निचोड दिन भनेर मैले राजस्व बोर्ड गठन गरेको थिएँ । तर एक जना मन्त्री आएर खारेज गरिदिनुभयो । यसलाई पुनःस्थापित गर्नुपर्छ । विदेशी लगानीकर्ताले नेपाल लगानीका लागि हरियो चौर हो भनेर बुझ्नुपर्छ, तर हरियो चौर छ भन्दैमा हरियो सर्प भएर घुस्न पाइँदैन ।

बैंक तथा वित्तीय अवस्थामा एफपीओ कर, इन्टरनेटको सन्दर्भमा नवीकरणको पैसासमेत पठाउन पाएका छैनन् । कतिपय अवस्थामा भ्तूप्रभावी कर लगाएको देखिन्छ । जुन समयमा गर्नुपर्थ्यो, त्यतिबेला नगरेको देखिन्छ । यसले लगानीलाई असर गर्ला नि ?
नीतिमा जे घोषणा गरिन्छ, त्यसलाई कानुनमा रूपान्तरण गर्न ढिलो भएको छ । कानुनको परिपालना गराउने कर्मचारीले कानुन मात्रै हेर्छ, नीति हेरेर निर्णय गर्दैन । हामीले मर्जरको नीति, एफपीओ, प्रिमियममा सेयर बिक्रीका लाभकरको विषयमा नीतिगत निर्णय गर्‍यौं । दूरसञ्चारको क्षेत्रमा पनि केही नीतिगत निर्णय गर्‍यौं । यद्यपि आयकर ऐनमा दुविधा हुन सक्ने विषयलाई हटाउनुपर्थ्यो । त्यसबेला ध्यान नपुगेको हो । नीतिमा एउटा व्यवस्था र आयकर ऐनमा अर्को व्यवस्था भएको अवस्थामा परिवर्तन गरिएन भने कर लागू हुने स्थिति बन्न सक्छ । कानुन भूतप्रभावी हुँदैन । आयकर ऐन भूतप्रभावी पनि भएको होइन । नीतिमा घोषणा गरेको विषयलाई कानुनमा रूपान्तरण गरिहालौं । ऐनमा संशोधन भएको छ भने नियम संशोधन गरेर मिलाइहालौं । सूचना प्रविधिसम्बन्धी यावत् मुद्दाहरू छन् । कतिपय कारोबारमा अझै पनि नकारात्मक क्षेत्र छ । बाहिरबाट हेर्दा नेपालको अर्थतन्त्रमा ठूलो योगदान सूचना प्रविधिको छ भन्ने सुनिन्छ तर भित्र देखिँदैन । इन्टरनेट सेवा प्रदायक, केबल टेलिभिजन, अन्य वेबसाइटको विषयमा नियामक निकाय नै भद्रगोल हुन्छ । सेटिङबाट मान्छे जान्छ भने कसलाई दोष दिनुहुन्छ ।
इन्टरनेट सेवा प्रदायकदेखि आईटी सेवा प्रदायकका लागि उच्च तहको आयोग बनाएर नै हेर्नुपर्छ । सहकारी, लघुवित्तको समस्या आए जस्तै भोलि यसको पनि समस्या आउन सक्छ । सूचना प्रविधिसम्बन्धी उद्योगमा धेरै जोखिमयुक्त क्षेत्र छन् । अन्तर्राष्ट्रिय सेटलाइट सेवा लिँदा धेरै विदेशी मुद्रा बाहिरिन्छ । साँच्चै त्यति पैसा खर्च गर्नुपरेको हो कि होइन भनेर हेर्न जरुरी छ । म सञ्चारमन्त्री हुँदा नेपाल टेलिभिजन पनि हेर्थें । अन्तर्राष्ट्रिय टेलिभिजन सेवा चलाउनुपर्छ भन्थें । स्याटेलाइट सर्भिसमा के हुने हो भनेर आफैं डराएको थिएँ । त्यसैले रोकेको थिएँ । आईटी सेवामा गरिरहेको अन्तर्राष्ट्रिय कारोबार त्यसमा आउने/जाने र ठूलो पुँजी तिर्नुपर्ने विषय हेर्नु आवश्यक छ ।

विदेशी लगानीका लागि नेपाल कसरी ग्रिनल्यान्ड हो ? उनीहरूले कुन क्षेत्रमा लगानी गर्ने ?
विदेशी लगानीकर्तालाई सल्लाह सुझाव दिइरहँदा जोखिम कति छ, कति प्रतिफल आउँछ, त्यो लगानीकर्ता आफैंले हेर्नुपर्छ । हाम्रो प्राथमिकता कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १/२ प्रतिशतमा भएको निर्यातलाई १० प्रतिशत पुर्‍याउने किसिमको विदेशी लगानी हो । न्यूनतम १० वर्षमा १० खर्बको निर्यात हुने बनाउनुपर्‍यो । अझ ५ वर्षमै १० खर्ब निर्यात गर्न सक्ने बनाउनुपर्छ । त्यस किसिमका उद्योग व्यवसाय हामी चाहन्छौं । छिटो प्रतिफल दिने, विदेशी मुद्रा आर्जन गर्ने र निर्यात हुने क्षेत्रमा हामीले जोड दिनुपर्छ, प्रस्टसँग लगानीकर्तालाई भन्नुपर्छ । उत्पादन, पर्यटन, आईटी, व्यावसायिक कृषि र जलविद्युत्मा हामीले विदेशी लगानी भित्र्याउनुपर्छ । अंग्रेजीमा साक्षर जनसंख्या बढ्दै छ । युवा भएकाले जोखिमपूर्ण काम गर्न उत्सुक छन् । आउटसोर्स गर्न सबैका लागि नेपाल उपयुक्त थलो हो । आईटी उद्योगमा पारदर्शी ढंगले कर छुट दिँदै जाने तर दर्ता भई विदेशी मुद्रा वैधानिक बाटोबाट पनि आउने गरी चलाउनुपर्छ ।
कृषिलाई व्यावसायीकरण गर्ने भनेको उत्पादनलाई प्रशोधन गरी भ्यालु चेनमा लैजाने हो । कृषिमा विदेशी लगानी खुला गर्नुपर्छ । औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी प्रवर्द्धन ऐनमा कृषि फार्म र प्रशोधनमा जाने विषयमा त्यसबेला अवरोध गरिएकाले मैले फर्काएँ । नेपालको आन्तरिक स्रोतबाट ठूलो मात्रामा डेरी उत्पादन, हर्बल उत्पादन, औषधि उत्पादनमा जाने हो भने निर्यात बढ्छ । आजको दिनमा एनसेल जस्ता दुईवटा कम्पनी आएर पैसा फिर्ता गर्नुपर्‍यो भने हाम्रो रुवाबासी हुन्छ । कुनै वर्षमा विदेशी लगानीको आप्रवाहभन्दा भुक्तानी बढी हुन थालेको छ । विदेशी लगानीका पैसा/रुपैयाँमा आम्दानी हुन्छ । भुक्तानी गर्नुपर्ने पैसा विदेशी मुद्रामा दिनुपर्छ । छिमेकीसँग ऋण लिनुपर्छ । त्यस्तो अवस्था नआओस् भनेर हामीले गर्ने लगानी निर्यात प्रवर्द्धनमा हुनुपर्छ ।
भारतले १० हजार मेगावाट बिजुली किन्ने सम्झौता भयो । तर त्यसभित्रको नियम के हुन्छ ? प्रतियुनिट विद्युत् उत्पादन लागत ८ देखि १० रुपैयाँ पर्छ । तर ५ रुपैयाँभन्दा बढीमा बिजुली किन्दैनौं भन्यो भने यसको समाधान कसरी हुन्छ ? जलाशययुक्त परियोजना गर्दा निजी क्षेत्रले नाफा पाउँदैन । त्यस अवस्थामा भायबिलिटी ग्याप फन्डिङमा सरकारले के गर्ला ? तत्काल प्रतिफल दिने हाइड्रोपावर पनि हो । टेक अर पे (लेऊ वा तिर) को अवस्थामा नभई टेक एन्ड पे (लेऊ र तिर) मा जाने हो भने बाई ब्याक (खरिद फिर्ता) व्यवस्थापन गरिनुपर्छ । त्यसपछि मात्रै हाइड्रोपावर लगानी सुरक्षित र लाभ हुने क्षेत्र हुनेछ ।

विदेशी लगानीकर्ता आकर्षित गराउन सरकारले यो सम्मेलनमा के गर्न सक्छ ?
समयानुसार नीति छिटो बनाउनुपर्छ । लगानीका लागि आएको प्रस्ताव यति दिनभित्र स्वीकृृत गर्छौं भनेर विश्वस्त दिलाउनुपर्छ । आवश्वासन नभई विश्वास दिलाउनु आजको आवश्यकता हो । सरकार फेरिरहन्छ तर हाम्रो नीति फेरिँदैन भन्नुपर्छ । कानुन निर्माणको प्रक्रियालाई रोक्नु भएन । कम्पनीका लागि आवश्यक पूर्वाधारमा सरकारले व्यवस्थापनको काम गर्नुपर्छ । पूर्वाधार नभएकाले लगानी हुँदैन भन्ने बहस चलिरहन्छ, तर पूर्वाधार आफैंमा लगानीको क्षेत्र रहेको सरकारले भन्नु आवश्यक छ ।

Page 6
युवा ग्यालरी

शशांकको सनसनी

‘एकपल्ट किनिसकेपछि तत्काल फिर्ता गर्न नपाइने’ प्रावधानका कारण ‘भूलवश’ अनुबन्धित भए पनि छत्तीसगढका शशांक सिंह पञ्जाव किंग्सका लागि यसपल्टका विशेष खेलाडी बनेका छन्
- हिमेश

(काठमाडौं)
यस सिजनमा शशांकले निकै राम्रो खेलेका छन् । उनी निकै भलादमी पनि छन् । उत्तिकै विशेष खेलाडी पनि हुन् । उनी जत्तिको खेलाडी हुनु ठूलै कुरा हो । उनले जसरी खेलिरहेका छन्, त्यो अविश्वसनीय छ ।’ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा शुक्रबार राति पञ्जाव किंग्सले कीर्तिमानी जित निकालिसकेपछि जोनी बियरस्टोले यस्तो प्रतिक्रिया दिएका थिए ।
कोलकाता नाइटराइडर्समाथि पञ्जावको जित आफैंमा अविश्वसनीय रह्यो । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै ६ विकेटमा २ सय ६१ रन बनाएको थियो । लागिरहेको थियो, यत्तिको स्कोर भन्नु त ट्वान्टी/२० क्रिकेटमै पनि जितका लागि पर्याप्त छ ।
तर इंग्लिस ब्याटर बियरस्टो र शशांक सिंहले मनमा बेग्लै कथा बुनिरहेका थिए । पञ्जावले प्राप्त गरेको यो विजय, लक्ष्य पछ्याउने क्रममा कुनै टिमले पार गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । अझ पञ्जावले १८.४ ओभर मात्रै उपयोग गरेर दुई विकेटको नोक्सानीमा २ सय ६२ रन बनायो । यसअघि दोस्रो इनिङ्समा सफलतापूर्वक पछ्याएको कीर्तिमान दक्षिण अफ्रिकाका नाममा थियो ।
उसले सन् २०२३ मा वेस्ट इन्डिजविरुद्ध पाँच विकेटमा २ सय ५८ रन बनाएर जित निकालेको थियो । अहिलेको पञ्जावको जितमा बढी चर्चा त बियरस्टोकै भइरहेको छ । आखिर उनले त्यसमा १ सय ८ रन बनाएका थिए, त्यो पनि नटआउट । उनी नै ‘प्लयेर अफ द म्याच’ रहे । त्यही अवार्ड थाप्ने क्रममा उनले शशांकको प्रशंसा गरेका हुन् । साँच्चै यो जितमा यी भारतीय ब्याटरको पनि उत्तिकै योगदान
रह्यो । उनले २८ बलमा ६८ रन बनाएर नटआउट रहे ।
यसपल्टको आईपीएल सुरु हुँदा सबैका लागि कौतूहल थियो, यी शशांकचाहिँ को हुन् त ? फेरि इडेन गार्डेनकै खेलमा फर्कने हो भने शशांकको योगदान उत्तिकै देखिन्छ । पञ्जावले दुई विकेट गुमाएपछि उनी क्रिजमा आएका थिए, खेल उनको पकडबाट धेरै टाढा थियो । उनलाई प्रमोट गरेर माथि खेल्न पठाइएको थियो । सुरुमा उनी केही संयमित देखिए । तर एकपल्ट के खुले, अन्त्यमा २४२.८५ को स्ट्राइकमा रन बनाए, जसमा २ चौका र ८ छक्का सामेल छन् ।
सम्भवतः शशांक को हुन्, सबैले यो उत्तर त पाइसकेका छन् । त्यही इडेन गार्डेनमा खेल सुरु हुनुअगाडिसम्म पनि एउटा कथा सुन्दै सुनाउँदै आइएको थियो । त्यस अनुसार अक्सनमा पञ्जावले शशांकलाई गल्तीले किनेको हो । त्यस अक्सनमा शशांक सिंह नामका दुई खेलाडी थिए । एक थिए ३२ वर्षीय शशांक र अर्का १९ वर्षीय शशांक । सुरुमा किशोर शशांकको नाम आयो, उनमा कसैले रुचि देखाएनन् ।
बंगालका यी खेलाडीले अहिलेसम्म प्रथम श्रेणीको क्रिकेट पनि खेलेका छैनन् । पछि लगत्तै यी शशांकको नाम आयो, पञ्जावले २० लाख भारतीय रुपैयाँमा उनलाई किनिहाल्यो । उनले पछिल्लो सिजन सनराइज हैदरावादका लागि खेलेका थिए । नाटकीय मोड त्यतिबेला आयो, जतिबेला पञ्जावका मालिक नेस वाडिया र प्रीति जिन्टाले हात उठाएर आफूले शशांकबारे गरेको निर्णय फेर्न चाहेको सुनाए । तर निर्णय सुनाइयो, ‘एकपल्ट किनिसकेपछि फिर्ता गर्न पाइन्न ।’
अहिले यिनै छत्तीसगढका शशांक पञ्जावका लागि यसपल्टका विशेष खेलाडी बनेका छन् । उनले अहिलेसम्म आफूले खेलेका ९ खेलमा ६५.७५ को सानदार औसतमा रन बनाएका छन् । उनको स्ट्राइक रेट १८२.६४ रहेको छ अनि २ सय ६३ रन बनाएका छन् । यस क्रममा उनले दुई अर्धशतक पनि बनाएका छन् । यसबीच भारतीय मिडियाले खुबै लेखेका छन्, पञ्जावले अक्सनका बेला गरेको गल्ती अहिले काम लागिरहेको छ । यो गल्ती त थियो, तर यसबाट पञ्जावलाई साँच्चै फाइदा भएको छ ।
सायद यस्तै कुरा सुन्दासुन्दा पञ्जावलाई दिक्क लागेको छ र उसले आधिकारिक रूपमै भनेको पनि छ, ‘हामी आधिकारिक रूपमै भन्न चाहन्छौं, शशांक सिंह किन्ने हाम्रो लक्ष्य नै थियो । उस्तै नाम भएका दुई खेलाडी भएकाले द्विविधा भने भएको हो । उनलाई आफ्नो खेलाडी बनाउन पाएकामा हामी खुसी छौं र टिमको सफलतामा उनको योगदान अझ बढी हुने विश्वास पनि गर्छौं ।’ भनेपछि पञ्जावले तिनै शशांकलाई किन्न खोजेको थियो, जसले अहिले खेलिरहेका छन् ।
शशांक पनि के कम, त्यसमा प्रतिक्रिया दिएका छन्, ‘ठीक छ नि ! मलाई विश्वास गरेकामा ।’ तर पनि उनीबारे पुरानै कथा सुन्ने सुनाउने काम रोकिएको छैन । सायद, यो रोकिने पनि छैन । खास कुरा के भने उनको प्रदर्शन कमजोर भएको भए, उनीबारे चर्चा नै हुने थिएन । तर उनले राम्रो खेले, त्यसैले त सबैले उनीमाथि रुचि देखाए । अहिलेसम्म उनको प्रदर्शन हेर्दा भन्न करै लाग्छ, पञ्जावले ढुंगा खोज्दा देवता भट्टाएकै हो, त्यसपछाडि कारण जे–जस्ता भए पनि ।

युवा ग्यालरी

सन् २००३ मा आजकै दिन

पाको उमेरमा एक नम्बर बने आगासी

सन् २००३ को आजकै दिन (२८ अप्रिल) मा अमेरिकी टेनिस खेलाडी आन्द्रे आगासी सबैभन्दा पाको उमेरमा पुरुष टेनिसको विश्व वरीयतामा शीर्ष स्थान ओगट्न सफल भएका थिए । दोस्रो पटक एटीपी वरीयताको पहिलो नम्बरमा पुग्दा आगासीको उमेर ३३ वर्ष १३ दिन थियो । त्यतिबेला आगासी एटीपी विश्व वरीयताको इतिहासमा शीर्ष स्थान हासिल गर्ने सबैभन्दा पाको खेलाडी बनेका थिए ।
आगासीको त्यो कीर्तिमान पछि रोजर फेडरर (३६) र नोभाक जोकोभिक (३६) ले तोडेका थिए । आगासी १९९५ अप्रिल १० मा पनि विश्व वरीयतामा पहिलो नम्बरमा रहन सफल भएका थिए । २० वर्षे खेल जीवनमा आगासीले चार पटक अस्ट्रेलियन ओपन, एक पटक फ्रेन्च ओपन, एक पटक विम्बल्डन र दुई पटक यूएस ओपन जितेका थिए । आगासीले २००६ सेप्टेम्बर ३ मा सक्रिय खेल जीवनबाट संन्यास लिएका थिए ।

Page 7
अर्थ वाणिज्य

बाक्लो तुँवालोले पोखरामा उडान ठप्प, पर्यटक निराश

बिहीबार पोखरा बसेका बुद्ध एयरका दुई र यती एयरलाइन्सको एक जहाज शुक्रबार पोखराबाट काठमाडौं फर्किए, यसबाहेक शुक्रबार कुनै उडान हुन सकेनन्, शनिबार दिनभर विमानस्थल ठप्प
- दीपक परियार

(पोखरा)
मौरिस हर्जोगको चर्चित किताब ‘अन्नपूर्ण’ बाट प्रभावित भएर हिमाल हेर्न नेपाल आएका फ्रान्सका पास्कल ब्लेन्क र सुजेन ब्लेन्कको जोडीले पोखराबाट अन्नपूर्ण देखेनन् । हिमाल हेर्न फ्रान्सेली पर्वतारोही हर्जोग हिँडेकै बाटो पछ्याउँदै घोरेपानी–पुन हिल पदयात्रामा निस्कने तयारीमा उनीहरू छन् । काठमाडौंबाट पोखरा आउने क्रममा अन्नपूर्ण हिमशृंखला हेर्ने कल्पना गर्दै आएको ७१ वर्षीय पास्कलले सुनाए ।
फेवा ताल किनारमा मंगलबार सूर्यास्तको अवलोकनपछि उत्तरतिर सराङकोटपट्टि फर्किएर उनले भने, ‘आकाश हेजी (धमिलो) छ । यहाँबाट अलि दिन हिमाल हेर्न पाउँदैनौं होला ।’ अर्को साता पदयात्रामा गएर हिमाल हेर्ने धोको पूरा गर्ने ७४ वर्षीया सुजेनले बताइन् । ‘आशा छ हामी पुग्ने ठाउँमा यस्तो धूवाँ र प्रदूषण हुने छैन,’ उनले भनिन् । पहिलोपल्ट अन्नपूर्ण प्रथम आरोहण गरेर ८ हजार मिटर माथिको हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बनेका हर्जोगप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्न नेपाल आएको उनले सुनाइन् ।
आकाश छ्याङ्ग खुलेका बेला पोखराबाट ८ हजार मिटर माथिका तीन वटा हिमाल देखिन्छन् । अन्नपूर्ण प्रथम, धवलागिरि र मनास्लु । पोखरा आउने आन्तरिक र बाह्य पर्यटक माछापुच्छ्रेलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गर्न लालायित हुन्छन् । चैत सुरु भएयता भने पोखराको आकाश नीलो छैन । धूवाँ र प्रदूषणले यहाँको हावा अस्वस्थ छ । उपत्यकावरिपरि बसेको तुँवालोले हिमाल पूरै ढाकिएको छ ।
काठमाडौं शंखमुलबाट ६ जनाको परिवारसहित बिदा मनाउन पोखरा आएका दलबहादुर श्रेष्ठ मंगलबार पुम्दीभुम्दी पुगे । लस्करै उभिएका हिमाललाई अग्लो डाँडाबाट अरुबेलाजस्तो आँखाअघि हेर्न पाएनन् । फेवाताल र पोखरा बजार पनि धमिलो देखियो । ‘यसपल्ट पहिलापहिलाजस्तो रमाइलो भएन, हिमाल नै देख्न पाइएन,’ पाँचौंपल्ट पोखरा घुम्ने आएका उनले भने, ‘जे सोचेर आइएको थियो, त्यो पूरा नहुँदा नरमाइलो लाग्ने रहेछ । धमिलो आकास देखेर मनै अमिलो भयो ।’
डढेलोको धूवाँ र प्रदूषणको असर पोखराको पर्यटनमा पनि देखिन थालेको छ । पोखरामा यतिबेला भारतीय र अन्य विदेशी पर्यटकको उपस्थिति बाक्लो देखिए पनि दृश्यावलोकनमा निस्कने पर्यटकको संख्यामा भने कमी आएको छ । तुँवालोले आकाश ढाकिएपछि दृश्यावलोकनका लागि चल्तीका गन्तव्यमा पर्यटन जान नखोजेको पोखरा सिटी टुर गाइड एसोसियसनका अध्यक्ष आनन्द गुरुङ बताउँछन् । हिमशृंखला, फेवाताल, पोखरा बजार लगायतको दृश्यावलोकनका लागि सराङकोट, पुम्दीभुम्दी, कास्कीकोट, काहुँडाँडा चल्तीका गन्तव्य हुन् । अहिले ती गन्तव्यमा पुग्ने पर्यटकको संख्यामा २५ प्रतिशतले कमी आएको गुरुङले जनाए ।
‘हामीले पनि हिमाल देखाउँदै व्याख्या गर्न नपाइने भयो,’ उनले भने, ‘पर्यटकले पनि त्यहाँ गएर केही देखिँदैन, किन जाने भन्छन् । यसले व्यावसायिक रूपमा सबैभन्दा बढी मार सिटी टुर गाइडलाई परेको छ ।’ तुँवालोले मौसम नै नरमाइलो भएपछि पर्यटकले बसाइँ छोट्याएको उनको अनुभव छ । प्याराग्लाइडिङ र अल्ट्रालाइट चढ्ने पर्यटक पनि घटेका छन् ।
पोखरा पर्यटनको राजधानी घोषणा भएपछि पर्यटकको संख्या बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जनाए । पर्यटक आइसकेपछि भने हिमाल हेर्न नपाउँदा निराश हुने गरेको उनले सुनाए । ‘विश्वव्यापी रूपमा भएको तापमान वृद्धि र जलवायु परिवर्तनको असरले पनि होला,’ उनले भने, ‘समयमै ख्याल नपुर्‍याउने हो भने यसले पर्यटन व्यवसायमा गम्भीर क्षति पुर्‍याउँछ ।’
धूवाँ र धूलोले पोखरामा मात्रै होइन, कास्कीका अन्य गाउँमा रहेका पर्यटन व्यवसायमा पनि असर पुगेको छ । पोखरादेखि उत्तर पूर्वमा रहेको पर्यटकीय गाउँ सिक्लेस हिमालको नजिकै छ । अन्नपूर्ण र लमजुङ हिमाललाई नजिकबाट अवलोकन गर्ने उद्देश्य सिक्लेस पुग्ने पर्यटकको हुन्छ । अहिले चैतको अन्तिम साताबाट सिक्लेस र ताङतिङबाट समेत हिमाल देखिएको छैन, धूवाँले ढाकिएको छ । सिक्लेस होटल व्यवस्थापन समितिका अध्यक्ष पारस गुरुङका अनुसार हाल नजिकैको गाउँ तप्राङको वनमा आगलागी भइरहेको छ । तप्राङ पारि घ्याम्राङमा पनि डढेलो फैलिएको छ ।
पोखराबाटै अलि परको डाँडा नदेखिएको अवस्थामा पर्यटकले सिक्लेसबाट हिमाल देखिएको/नदेखिएको बारे सोधपुछ गर्छन् । ‘पाहुनालाई ढाट्ने कुरा पनि भएन, अहिले हिमाल देखिएको छैन भन्छौं,’ अध्यक्ष गुरुङले भने, ‘त्यसो भन्दा कति बुकिङ क्यान्सिल भएको छ ।’ सिक्लेस नै आएका पर्यटक पनि हिमाल हेर्न नपाएपछि बसाइँ छोट्याएर फर्किएको उनले सुनाए । ‘पहिला पनि डढेलो लाग्थ्यो तर यसरी जमेर बस्न थालेको २–३ वर्ष मात्रै भयो,’ उनले भने, ‘पानी पर्‍यो भने सफा होला । पानी पर्नै सकेन ।’
पोखराबाट अन्नपूर्ण क्षेत्रसम्मै तुँवालो फैलिएको छ । पर्यटकीय गाउँ घान्द्रुकबाटै पर्यटकलाई हिमाल देखाउन नपाएको ट्रेकिङ गाइड हीरा मल्लले सुनाइन् । उनी दुईजना विदेशी पर्यटक लिएर १४ दिनका लागि मर्दी, घान्द्रुक, घोरेपानी–पुन हिल–खोप्राको पदयात्रामा निस्किएकी थिइन् । मौसम सफा नभएकाले पर्यटकको आग्रहमा यात्रा छोट्याएर ११ दिनमा पोखरा फर्किएको उनले जनाइन् । ‘पर्यटकले यहाँको मौसम सधैं यस्तै हो भनेर सोध्छन्,’ उनले भनिन्, ‘हामीले डढेलोको कारण यस्तो भएको हो भन्छौं ।’
अन्तर्राष्ट्रिय वायु जाँच संस्था आईक्यूएयरको तथ्यांकअनुसार शनिबार पोखराको वायु गुणस्तर सूचकांक (एक्युआई) १९४ पुगेको थियो, जुन अस्वस्थकर हो । शुक्रबारको एक्यूआई १८५, बिहीबार १७८, बुधबारको १६०, मंगलबारको १५९, सोमबारको १६४, आइतबार १५६ थियो । पोखराको प्रदूषण मानव स्वास्थ्यलाई हानि हुने तहमा पुगेको देखिन्छ । शनिबार हावामा मसिना धूलोका कण पीएम २.५ को मापन १३८.२ माइक्रोग्राम प्रति क्युबिक मिटर पाइएको छ । उक्त मापन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २८ गुणा बढी हो ।
प्रदूषणकै कारण भिजिबिलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाइ उडान प्रभावित भएको छ । बिहीबार पोखरा बसेका बुद्ध एयरका दुई र यती एयरलाइन्सको एक जहाज शुक्रबार पोखराबाट काठमाडौं फर्किए । त्यसबाहेक शुक्रबार अन्य कुनै उडान हुन सकेनन् । शनिबार दिनभर विमानस्थल ठप्प भयो । बाँक्लो तुँवालोको कारण भिजिबिलिटी कम हुँदा उडान हुन नसकेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अनुप जोशीले जनाए । पोखराबाट जाने जहाजका लागि भने भिजिबिलिटी कम भए पनि पुग्ने भएकाले शुक्रबार तीन जहाज काठमाडौं फर्किएका थिए ।
सामान्य अवस्थामा पोखराबाट काठमाडौं, भैरहवा, भरतपुर र नेपालगन्जमा बुद्ध, यती र श्री एयरलाइन्सका जहाजले दैनिक औसत १ सय २० उडान गर्छन् । पुरानो विमानस्थलबाट तारा र समिट एयरले मुस्ताङको जोमसोम उडान गर्छन् । हेलिकोप्टर र अल्ट्रालाइट पुरानै विमानस्थलबाट सञ्चालन हुन्छन् । केही सातायता भिजिबिलिटी कम भएर दिनदिनैजसो उडान प्रभावित भएकामा शुक्रबार र शनिबार यी सबै उडान रद्द भएको जोशीले बताए । ‘शुक्रबारभन्दा शनिबार झन् मौसम खराब भयो,’ उनले भने, ‘ठूलै हावाहुरी नआई, पानी नपरी खुलिहाल्न सहज छैन ।’ उडान प्रभावित हुँदा पोखराको पर्यटनलाई प्रत्यक्ष असर परेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जनाए । ‘बुकिङ धमाधम रद्द भएका छन्,’ उनले भने, ‘पर्यटक रातारात बस चढेर आउनुपर्ने अवस्था छ । यसले राम्रो सन्देश गएको छैन ।’ लामो समयदेखि आकास नखुल्दा हिमाल हेर्न नपाएकोले विदेशी पर्यटकले पनि बसाइँ छोट्याएको उनले सुनाए ।
वन डढेलो र उत्तरपूर्वी भारतबाट आएको प्रदूषणको कारण पोखराको आकाश पनि धुम्मिएको संरक्षणकर्मी हुमबहादुर गुरुङको भनाइ छ । पोखरामा पनि कचौरामा जमेर बसेजस्तै तुँवालो बसेकोले बाहिर जान नसक्दा प्रदूषण उच्च भएको उनको भनाइ छ । ‘यसले दक्षिणी भेगका हिमाली गाउँमा असर परिरहेको छ,’ उनले भने, ‘ग्रामीण अर्थतन्त्रमा पनि यसको असर देखिन्छ ।’ हिमाल हेर्न जाने पाहुना घट्दा स्थानीय होटल व्यवसायी, होम स्टे सञ्चालकको आम्दानी घट्ने उनले बताए ।
स्थानीयमा आँखा र नाक पोल्ने, घाटी खसखस हुने, टाउको दुःख्ने जस्ता समस्या पनि देखिएको छ । फागुनयता ५ हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय कास्कीको तथ्यांक छ । स्थानीयले मकै लगाउनुअघि खेतबारीमा कान्लामा लगाउने आगो फैलिएर वनसम्म पुगेको छ । वन डढेलो न्यूनीकरणमा समुदायकै प्रमुख भूमिका हुने कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले जनाए । ‘डढेलो लगाउनुहुन्न भन्ने चेतना पहिला समुदायमै हुन जरुरी छ,’ उनले भने, ‘सचेतना वृद्धिमा वन मन्त्रालयले विस्तृत योजना बनाउनुपर्छ । डढेलो लागिसकेपछि त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी वन कार्यालय एक्लैको हो भनेर उम्कन मिल्दैन ।’

अर्थ वाणिज्य

इन्टरनेट सेवा प्रदायक र सरकारको बेरुजु विवादले इन्टरनेट अवरुद्ध हुने जोखिम

इन्टरनेट सेवामा लाग्ने टीएससीमा सरकारले छुट दिए पनि मर्मतसम्भारको शुल्कमा लाग्ने रोयल्टी र आरटीडीएफ बुझाउनुपर्ने सरकारको अडान
- सजना बराल

(काठमाडौं)
नौ महिनादेखि ब्यान्डविथ खरिदबापतको भुक्तानी नदिएकाले भारतीय कम्पनीहरूले नेपालको इन्टरनेट काटिदिने चेतावनी दिएको नेपालका इन्टरनेट सेवा प्रदायकहरूले बताएका छन् । भारतीय एयरटेलले ब्यान्डविथ रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भनी यसै साता पत्र काटेको इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था (आईस्पान) ले जनाएको छ ।
‘नेपालमा एयरटेलबाट ७० प्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ आउने गरेको छ, त्यसबापत हामीले नौ महिनाको ३ अर्ब रुपैयाँ शुल्क तिर्न पाएका छैनौं,’ पत्रकार सम्मेलनमा आईस्पानका अध्यक्ष सुधीर पराजुलीले भने, ‘भुक्तानी अवज्ञासम्बन्धी सर्तका कारण हाम्रो सम्झौतापत्र नै अमान्य हुन लागेको छ । सरकारले विदेशी मुद्रा सटही सिफारिस नगरिदिएकाले हामीले भुक्तानी गर्न पाएका छैनौं ।’
निजी इन्टरनेट सेवा प्रदायकहरूले मर्मतसम्भार शीर्षकअन्तर्गतको बेरुजु रकम नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सिफारिसमा अवरोध खडा गरेको छ । भारतीय अपस्ट्रिम प्रदायक कम्पनीहरूले भुक्तानीका लागि ताकेता गरिरहँदा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने इन्टरनेट बन्द नगरिदिन अनुरोध गर्दै आफूहरूलाई पत्राचार गरेर विरोधाभासपूर्ण व्यवहार गरिरहेको आईस्पानका पराजुलीले बताए । ‘निजी क्षेत्रलाई दूरसञ्चार सेवामा सरकारले आकर्षित गर्नुपर्नेमा त्यसो नगरी सहजीकरणको कामसमेत रोकिदिनु आश्चर्यजनक छ,’ आईस्पानले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण वर्षौंदेखि विभेदकारी छ ।’
निजी दूरसञ्चार सेवा प्रदायकले विदेशी मुद्रा सिफारिस लिन दूरसञ्चार प्राधिकरण हुँदै सञ्चार मन्त्रालय र राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने र सरकारी दूरसञ्चार सेवा प्रदायकले भने सोझै बैंकमा गएर विदेशी मुद्राको सटही सुविधा पाउने व्यवस्था विभेदकारी भएको आईस्पानको निष्कर्ष छ । निजी क्षेत्रलाई बक्यौताका कारण सहजीकरण रोकिदिने तर सरकारी सेवा प्रदायकको बक्यौताबारे नजरअन्दाज गरेको देखिने आईस्पानले उल्लेख गरेको छ ।
सेवा प्रदायकहरूले आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा सपोर्ट एन्ड मेन्टेनेन्स शुल्कअन्तर्गत रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नतिरेको र त्यो दाखिल गरेपछि मात्रै सहजीकरण कार्य पुनः सुरु गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अडान लिएको छ । सेवा प्रदायकहरूले भने अदालतको आदेश, संशोधित दूरसञ्चार नियमावली र आर्थिक ऐनले गरेको व्यवस्था, सार्वजनिक लेखा समितिका प्रतिवेदनहरूले नै मर्मतसम्भारमा रोयल्टी र आरटीडीएफ नलाग्ने दाबी गर्दै आएका छन् ।
उनीहरूले मर्मतसम्भार दूरसञ्चार सेवाअन्तर्गत नपर्ने भएकाले मर्मतसम्भारबाट लिएको शुल्कबाहेकको आम्दानीबाट सबै शीर्षकका राजस्व रकम नियमित बुझाउँदै आएको बताएका छन् ।
‘मर्मतसम्भारमा रोयल्टी र आरटीडीएफको सन्दर्भ अदालतमा विचाराधीन विषय पनि हो, अदालतले यसमा रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने फैसला गर्‍यो भने हामी तिर्छौं,’ एक सेवा प्रदायकले भने, ‘तर सरकारले यसरी सहजीकरण रोकेर इन्टरनेट सेवा नै बन्द हुने अवस्था सिर्जना गरिदिनु भएन । यतिन्जेल हामीले बैंक ग्यारेन्टी दिएर भारतीय कम्पनीहरूलाई आश्वस्त बनाइरहेका थियौं । पछिल्लो समय बैंक ग्यारेन्टी पनि नियामकको स्वीकृति लिएपछि मात्रै पाइने व्यवस्था लागू गरिएको छ ।’
मर्मतसम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर कायम गर्न सरकारले दूरसञ्चार ऐन संशोधन गर्नुपर्ने आइस्पानका अध्यक्ष पराजुलीले बताए । दूरसञ्चार ऐन २०५३ को दफा २ (घ) तथा दूरसञ्चार नियमावली २०५४ को अनुसूची ६ (क) मा संशोधन गरी मर्मतसम्भारलाई दूरसञ्चार सेवाभित्र सूचीकृत गरेर मात्र यसमा रोयल्टी र आरटीडीएफ दस्तुर लगाउन सकिने उनको भनाइ छ ।
सञ्चार मन्त्रालयले गरेको अध्ययनअनुसार विभिन्न ९ इन्टरनेट सेवा प्रदायकहरूले ०६९/७० देखि ०७८/७९ सम्म रोयल्टी, राजस्व तथा आरटीडीएफ दस्तुर र थप जरिवानासहित दुई अर्ब ४६ करोड बढी रकम तिर्न बाँकी छ । इन्टरनेट सेवामा लाग्ने दूरसञ्चार सेवा शुल्क (टीएससी) मा सरकारले छुट दिए पनि मर्मतसम्भारको शुल्कमा लाग्ने रोयल्टी र आरटीडीएफ भने बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

अर्थ वाणिज्य

कर्णाली लगानी सम्मेलन अन्योलमा

मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि सरकार विस्तार नहुादा समस्या
- कृष्णप्रसाद गौतम

(सुर्खेत)
कर्णालीका मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएको दुई साता बितिसक्दा पनि सरकार विस्तार नहुँदा यसअघिको सरकारले वैशाख १९ र २० मा प्रदेश राजधानी वीरेन्द्रनगरमा तय गरेको लगानी सम्मेलन अन्योलमा परेको छ ।
सरकार विस्तारमा ढिलाइ हुँदा कर्णालीमा विकास निर्माणका काम पनि सुस्त छन् । मुख्यमन्त्रीले दुई दिनअघि माओवादीका रणसिंह परियारलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए । उनी पनि जिम्मेवारीविहीन छन् । लगानी सम्मेलनका लागि तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा निर्देशक समिति र विभिन्न उपसमिति गठन गरिएको थियो । तर उनी नेतृत्वको सरकार विघठन भएसँगै सम्मेलन अन्योलमा परेको हो ।
‘एक त कर्णालीमा लगानी भित्रिनै सकेको छैन, त्यसमा पनि पटकपटक लगानी सम्मेलन स्थगन हुँदा लगानीको वातावरण बन्नै सकेन,’ नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भने, ‘कर्णालीको विकासका लागि लगानी आवश्यक छ, त्यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउन जरुरी छ ।’ ठूला लगानीकर्तालाई कर्णालीमा लगानी गराउन सम्मेलन आयोजना गर्न लागिएको थियो ।
त्यसो त कर्णाली सरकारले आर्थिक वर्ष ०७६/७७ देखि नै वार्षिक नीति तथा कार्यक्रममा लगानी सम्मेलनको योजना अघि सारेको थियो । त्यस वर्ष पनि राजनीतिक अस्थिरताकै कारण सम्मेलन हुन सकेन । त्यसपछि ०७८ वैशाखमा सम्मेलन आयोजना गर्ने गरी समिति गठन गरियो । तर कोरोनाका कारण स्थगन भयो । यसपल्ट कर्णाली प्रदेश योजना आयोगले लगानी सम्मेलनका लागि विभिन्न परियोजनाको अवधारणापत्र निर्माण गरिसकेको थियो ।
विभिन्न विकास साझेदार र गैरआवासीय नेपाली संघलगायत संघसंस्थासँग पनि समन्वय गरिरहेको थियो ।
तर यसअघिका मुख्यमन्त्री शर्माले चैत २१ मा मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनकै अध्यक्षतामा गठन भएको प्रदेश योजना आयोग पनि स्वतः विघठन भयो । र लगानी सम्मेलन पनि अनिश्चित बनेको छ ।
कर्णालीका सबैजसो कानुन लगानीमैत्री नहुँदा पनि ठूला उद्योगी कर्णालीमा नभित्रिएको सुर्खेत चेम्बर अफ कमर्शका अध्यक्ष चिन्तामणि शर्माले बताए । ‘यहाँ सबै क्षेत्रमा लगानीका अवसरै अवसर छन्, तर भौगोलिक विकटता, सडक, बिजुलीलगायत पूर्वाधारको कमीले ठूला लगानीकर्ता आउनै सकेका छैनन,’ उनले भने, ‘निजी क्षेत्रलाई आकर्षित गर्न लगानीमैत्री कानुन निर्माण नै पहिलो सर्त हो, लगानी सम्मेलनले लगानीमैत्री वातावरण निर्माणमा ठूलो सहयोग पुग्थ्यो,’ उनले भने, ‘तर पटकपटक सम्मेलन स्थगित हुँदा लगानीकर्तासमेत निराश छन् ।’
कर्णालीको विकासको लागि लगानी आवश्यक भएको र त्यसका लागि वातावरण बनाउन जरुरी रहेकाले सम्मेलनको आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष योगेन्द्र शाहीले जनाए । संघीय सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका सहभागीलाई नै कर्णालीमा ल्याउनका लागि त्यसको दुई दिनपछि सम्मेलनको मिति तय गरिएको उनको भनाइ छ ।
‘संघीय सरकारले आयोजना गरेको सम्मेलनका सहभागीलाई यहाँ ल्याउन सकेको भए कर्णालीको विकासमा ठूलो टेवा पुग्थ्यो,’ उनले भने, ‘त्यसका लागि लगानीको प्राथमिकीकरणसमेत तयार गरेका थियौं, विभिन्न उपसमितिहरूको बैठक पनि बसिरहेका थिए, अन्तिम तयारीकै बेला सरकार फेरियो, अब कहिले हुन्छ केही भन्न सकिन्न ।’
ठूला लगानीकर्ता नहुँदा कर्णालीमा सामान्य उद्योग पनि सञ्चालन हुन नसकेको विकासविज्ञ पुस्तक चन्दको भनाइ छ । ‘कर्णालीमा जलविद्युत्, पर्यटन र जडीबुटीको ठूलो सम्भावना छ,’ उनले भने, ‘विभिन्न खनिज पदार्थ निकाल्न सकिने खानी पुस्तौदेखि प्रयोगविहीन छन्, जसका कारण कर्णालीको आर्थिक विकास कमजोर छ, युवा प्नि मजदुरीका लागि भारतकै भर पर्न बाध्य छन् ।’
सत्ता गठबन्धन पटकपटक परिवर्तन हुँदा कर्णाली सरकारको बजेट कार्यान्वयन पनि कमजोर बनेको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले जनाए । ‘अहिलेसम्म कुनै पनि विकास निर्माण योजना कार्यान्वयनमा गएका छैनन्, यो वर्ष प्रदेश सरकारको खर्चजति कर्मचारी र पदाधिकारीको तलबभत्तामा मात्र सकिएको छ,’ उनले भने, ‘न संसद्को गतिशीलता छ न सरकारकै, यस्तो अवस्थाले जनतामा नैराश्यता छाएको छ ।’ प्रदेश सरकारको खर्चको तथ्यांकले पनि उनकै भनाइलाई पुष्टि गर्छ ।
कर्णाली सरकारले यस वर्ष ३३ अर्ब ३७ करोडको बजेट ल्याएको छ । तर आर्थिक वर्ष सकिन ३ महिना मात्र बाँकी हुँदा मुस्किलले २५ प्रतिशत बजेट खर्च गर्न सकेको छ । चैत मसान्तसम्म सरकारले ८ अर्ब ५७ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको कामु प्रदेश लेखा नियन्त्रक दिपेन्द्र मगरातीले बताए । खर्च भएको सबै रकम तलबभत्ता, सवारी साधन, कार्यालय व्यवस्थापनमा मात्र खर्च भएको हो ।
‘विकास योजनाहरूको रकम निकासा गएकै छैन,’ उनले भने, ‘जसका कारण पनि यो वर्ष कम वित्तीय प्रगति देखिएको छ ।’ कर्मचारी अभावका कारण बजेट खर्चमा ठूलो समस्या देखिएको उनको भनाइ छ । सरकारले यो वर्ष विकास निर्माणमा झन्डै १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । समयमै अख्तियारी नजाँदा कर्णालीमा बर्सेनि ठूलो बजेट फिर्ता जाने गरेको सुशासनविद् गोविन्द शर्मा बताउँछन् ।

Page 8
अर्थ वाणिज्य

झुम्लाबाङमा फलाम उत्खनन गर्न लगानीकर्ता खोजिँदै

फलाम खानी उत्खननको तयारीले स्थानीय सरकार उत्साहित भए पनि यहाँका बासिन्दा भने बासस्थान गुमाउनुपर्ने पीरले अलमलमा
- महेश केसी

(रुकुम पूर्व)
भुमे गाउँपालिका–३ झुम्लाबाङमा फलाम खानी रहेको पुष्टि भएको छ । विभिन्न चरणमा गरेको अध्ययन–अनुसन्धानबाट यो देशकै सबैभन्दा ठूलो फलाम खानी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ । झुम्लाबाङमा धेरै वर्षपहिले तामाखानी रहेको विषयलाई आधार बनाई यसको अध्ययन गर्न गत वर्ष जेठमा विभागअन्तर्गतको खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्रका जियोलोजिस्ट सौनक भण्डारीको नेतृत्वमा दुई सदस्यीय टोली झम्लाबाङ पुगेर प्रारम्भिक रूपमा हेर्दा तामाभन्दा फलामको सम्भावना देखिएको थियो ।
‘यहाँ तामाभन्दा पनि फलाम रहेको पाइएपछि हामी गत असारमा दोस्रोपल्ट विभागका तत्कालीन उप–महानिर्देशकसहित तीन जनाको टोली आएर भेरिफिकेसनको काम गरेर फर्कियौं,’ उनले भने, ‘यसपछि गत असोजमा हामी फेरि आएर फलाम खानीबारे थप अध्ययनको कम गर्‍यौं । अनि गत मंसिर र पुसमा करिब दुई महिना लगाएर विस्तृत अध्ययनको कामसमेत सकिसकेका छौं ।’
पछिल्लो विस्तृत अध्ययनबाट झुम्लाबाङमा ठूलो परिणाममा फलाम रहेको पुष्टि गर्दै विभागले यहाँको फलामलाई उत्खननको प्रक्रियामा लैजाने तयारी गरिरहेको बताएको छ । ‘हामीले अहिलेसम्म टोपोलोजिकल सर्भे, भौगर्भिक नक्सांकन, च्यानल स्याम्पलिङ र वातावरणीय अध्ययनको काम सकेका छौं,’ विस्तृत अध्ययनबारे जियोलोजिस्ट भण्डारीले भने । च्यानल स्याम्पलिङबाट ११ सय वटा नमुना लिएर गएको र अहिले त्यसको परीक्षणको काम भइरहेको पनि उनको भनाइ छ । यहाँको फलामको अध्ययनका लागि लगिएका ११ सय नमुनाको परीक्षणको काम अन्तिम चरणमा पुगेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जनाए । ‘अहिलेसम्म उक्त नमुनाको परीक्षणबाट त्यहाँ रहेको ढुंगामा करिब ४५ प्रतिशत फलाम रहेको पाइएको छ,’ उनले भने, ‘अहिलेसम्मको अध्ययनबाट यो खानीमा मध्यम खाले फलाम छ भन्ने पुष्टि गर्न सकिन्छ ।’
फलामको परिणाम र गुणस्तरबारे लगभग स्पष्ट भइसकेको र अब उत्खनन प्रक्रियामा जाने विभागले बताएको छ । ‘हामी झुम्लाबाङको फलाम उत्खनन गर्न निजी क्षेत्रको लगानीका लागि टेन्डर आह्वान गर्दै छौं,’ सूचना अधिकारी बाँस्कोटाले भने । झुम्लाबाङको खानी फलाम उत्खननका लागि निजी क्षेत्रलाई दिने खानी तथा भूगर्भ विभागको भनाइ छ । यसका लागि आइतबार र सोमबार आयोजना हुने लगानी सम्मेलनलाई लक्ष्य गरेर टेन्डर खोल्ने तयारी गरिएको हो । जतिसक्दो धेरै लगानी प्रवर्द्धनको लक्ष्यसहित काठमाडौंमा आयोजना गरिने सम्मेलनमा ५५ देशका लगानीकर्ता आउँदै छन् । यहाँ आएका लगानीकर्तालाई फलाम खानीमा लगानीका लागि आकर्षित गर्न लगानी बोर्डमार्फत यो विषयलाई प्रस्तुत गर्न लागिएको सूचना अधिकारी बाँस्कोटाले जनाए ।
विभिन्न चरणको प्राविधिक जाँचपास र अध्ययनको काम सकिसकेको विभागले तीन चरणमा खानीको काम हुने बताएको छ । कुनै पनि स्थानमा खानी रहेको प्रमाणित भएपछि तीन चरणमा काम हुने जियोलोजिस्ट भण्डारी बताउँछन् । ‘पहिला रासायनिक र मेटालजिकल परीक्षण, दोस्रोमा प्रमाणित भण्डार र तेस्रोमा निष्कासन,’ उनले भने, ‘अहिले हामी रासायनिक परीक्षणको अन्तिम चरणमा छौं । यसपछि उक्त खानीमा के–कति फलाम छ, यकिन गरिन्छ । त्यसपछि फलाम निकाल्ने प्रक्रियामा प्रवेश गरिन्छ ।’
नेपालमा पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै आयात गरिनेमा फलाम रहेको विभागका सूचना अधिकारी बाँस्कोटाको भनाइ छ । तर झुम्लाबाङको खानीबाट फलाम निकाले यसले स्वदेशी बजारमा धेरै ठूलो टेवा पुग्ने उनले जनाए । ‘आयातित फलाममा पर्ने मूल्यभन्दा स्वदेशी खानीबाट उत्खनन तथा प्रशोधन गरेर निकालेको फलामको मूल्य सस्तो भए मात्रै हामीलाई हितकर हुन्छ,’ उनले भने, ‘यसकारण लागत कति र बजार मूल्य कति हुने भन्ने विषयले पनि खानीहरूमा लगानी गर्ने कि नगर्ने भन्ने कुरा आउन छ । तर झुम्लाबाङको फलाम खानीमा धेरै ठूलो परिणाममा फलाम रहेकाले यसले हामीलाई फाइदा पुग्ने निश्चत छ ।’
फलाम खानी रहेको झम्लाबाङमा पहिले तामा खानी थियो । ६५ वर्षअघि आफूहरूले तामाको धाउ (तामा मिश्रित पत्थर) निकालेर आगोमा गलाई तामा बनाएर बेचेको ८८ वर्षीय कर्णबहादुर थापाले जनाए । यहाँको तामा किन्न वरिपरिका विभिन्न ठाउँबाट मान्छेहरू आउने गरेको उनको भनाइ छ । त्यो क्रम करिब ५ वर्ष जति मात्रै चलेको उनी बताउँछन् । ‘सुरुङ खोलेर धाउ निकालेर तामा बनाउँथ्यौं । अनि त्यसलाई ८ सय रुपैयाँ धार्नी (साढे दुई किलो) मा बेथ्यौं,’ उनले भने ।
अहिले जस्तो बिजुलीको सुविधा नभएको त्यो बेलामा निगालोका दाउराको मसाल बनाएर सुरुङभित्र छिरेर तामा निकालेको अर्की स्थानीय ७७ वर्षीया काली विकले बताइन् । ‘हामी केटाकेटी नै थियौं । बाहरूले निकाल्नुहुन्थ्यो । हामी चाहिँ उहाँहरूलाई सहयोग गथ्यौं,’ तामा मिश्रित ढुंगा (धाउ) को टुक्रा देखाउँदै उनले भनिन्, ‘केही वर्ष बेस्सरी तामा निकालेपछि तामा सकियो भनेर छाडे ।’ स्थानीय बुढापाकाहरूको भनाइलाई पुष्टि गर्ने खालका विभिन्न सुरुङ पनि गाउँ वरिपरि भेटिन्छन् । तामा निकाल्ने बेला परम्परागत तरिकाले नै ती सुरुङ बनाइएको विकको भनाइ छ । यिनै कुरालाई आधार बनाएर गाउँपालिकाले यहाँ तामाखानीको सम्भावनाबारे खानी तथा गर्भ विभागलाई अध्ययनका लागि अनुरोध गरेको थियो । तामा खानीका लागि भनेर आएको टोलीले तामाभन्दा पनि यहाँ फलाम भएको बताएपछि अध्ययन–अनुसन्धान फलामतर्फ सोझिएको थियो । तर यहाँ फलामसँगै तामाको पनि सम्भावना रहेको जियोलजिस्ट भण्डारी बताउँछन् । ‘फलामको सम्भावना तामाभन्दा धेरै भएको पाएपछि हामी यता केन्द्रित भएका हौं,’ उनले भने, ‘तर यहाँ तामा पनि छ । के–कति परिणाममा छ र यसको गुणस्तर के–कस्तो छ भन्ने विषयमा भने छुट्टै अध्ययन गर्नुपर्छ । यसका लागि पनि हामी आवश्यक तयारी गरिरहेका छौं ।’

स्थानीय सरकार उत्साहित, सर्वसाधारणमा अलमल
भुमे–३ झम्लाबाङको करिब ५ किमि स्क्वायर क्षेत्रफलमा रहेको भनिएको फलाम खानीलाई उत्खनन गरेर व्यावसायिक प्रयोगमा ल्याउने विषयमा स्थानीय सरकार उत्साहित छ । तर स्थानीय बासिन्दा भने आफूहरूको बासस्थानै नरहने हो कि भन्ने पीरले अलमलमा रहेको पाइएको छ । आफ्नो ठाउँमा फलाम खानी भएको भन्ने कुराले खुसी बनाए पनि खानीबाट फलाम निकाल्दा बसाइँ नै उठ्ने हो कि भन्ने पीर परेको स्थानीय रूपलाल सुनारले जनाए ।
‘पुर्खाले तामा निकाल्दा गाउँघरलाई असर नपुर्‍याई काम गरे । त्यो पहिलेको कुरा थियो । अहिले त यहाँ पूरै पहाडभरि फलाम छ भन्छन् । त्यसो भए त हामी कहाँ गएर बस्ने ?’ उनले थपे, ‘बाटोघाटो, बिजुली, खानेपानीको सुविधायुक्त पखौंली ठाउँ छोडेर जान सकिने अवस्था छैन । यसकारण हामीलाई खानी भएको कुराले खासै खुसी बनाएको छैन ।’ स्थानीय युवा अजय मगरले पनि मन र भावनाले जोडिएको पुर्ख्यौली ठाउँ छोडेर जान मुस्किल पर्ने जनाए । ‘खानीबाट खनिज निकाल्ने कुरामा हाम्रो सहयोग त हुन्छ । तर स्थानीयको बसीबसाइँका विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्छ,’ उनले भने ।
आफ्नो पालिकाभित्र देशकै ठूलो फलाम खानी उत्खनन गरेर मुलुककै विकासमा टेवा पुग्ने विषयले स्थानीय सरकारमा भने उत्साह थपेको गाउँपालिका अध्यक्ष होमप्रसाद श्रेष्ठ बताउँछन् । ‘खानी छ र यसबाट निकाल्न सकिने खनिजले देशलाई अर्थिक टेवा पुग्छ भने यसमा आवश्यक सबै सहयोग गर्न हामी सम्पूर्ण हिसाबले तयार छौं,’ उनले भने, ‘खानीसँग सम्बन्धित विषय संघीय सरकार मातहत भएकाले यसमा हामी आवश्यक पहल गर्न र वातावरण मिलाउने कुरामा कुनै पनि असहयोग गर्दैनौं ।’
खानी भएको ठाउँमा करिब एक सय घरधुरी छन् । खानी उत्खननको प्रक्रिया सुरु भएपछि यहाँको मानव बस्ती स्थानान्तरण गर्नुपर्ने लगभग निश्चित छ । तर यस विषयमा तीनै तहका सरकारले स्पष्ट केही बताएका छैनन् । सबैको ध्यान खानीबाट खनिज निकाल्ने विषयमै केन्द्रित भएकाले आफूहरूको विषयमा सरोकारवालालाई चासो नभएको स्थानीय गोकर्ण श्रेष्ठको भनाइ छ । ‘खानीबाट फलाम त निस्केला तर हाम्रो भविष्य के हुन्छ ? यस विषयमा सरकारले समयमै प्रस्ट भन्न सक्नुपर्छ,’ उनले भने ।

अर्थ वाणिज्य

बुढीगंगामा बजेट नदिँदा रोकियो ठेक्का

ऋण लगानी गरेका देशबाट आउने रकमबाहेक अन्य रकम दिन अर्थ मन्त्रालयमा पत्राचार गरे पनि आएन जवाफ
- मेनुका ढुंगाना

(अछाम)
सरकारले बजेट सुनिश्चित नगर्दा २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना निर्माणको काम सुरु हुन सकेको छैन । २८ वर्षअघि अध्ययन सुरु गरिएको साँफेबगर नगरपालिका–१० स्थित बुढीगंगा जलविद्युत् आयोजना खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा नेपाल सरकारले निर्माण गर्न लागेको हो । आयोजना निर्माणबापत नेपाल सरकारले लगानीको स्रोत सुनिश्चित नगर्दा काममा ढिलाइ भएको छ ।
काठमाडौंबाट करिब ९ सय किमि दूरीमा रहेको यो आयोजनाले लोडसेडिङ घटाउन र देशको विद्युत् उत्पादन क्षमता वृद्धि गरी मुलुकको सामाजिक र आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । सन् २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको आयोजना हालसम्म ठेक्का पक्रियामा समेत जान सकेको छैन । बुढीगंगादेखि कैलालीको पहलवानपुर ९ सय ८५ किमि १३२ केभी प्रसारण लाइन विस्तार गरिने आयोजनाको भनाइ छ ।
स्रोतका अनुसार करिब एक वर्षअगाडि आयोजनाको मूल्यांकन गरेर ठेक्का प्रक्रियामा अगाडि बढ्ने बेला लगानीकर्ता साउदीले आफूअनुकूल नभएको भन्दै निर्माण प्रक्रियाको प्रस्ताव अस्वीकार गरेको थियो । ८ महिना लगाएर तयार गरेको ठेक्का प्रक्रिया रद्द भएपछि पुनः प्रक्रियामा लगिएको थियो । आयोजनाको प्रसारण लाइनका लागि आईईई प्रतिवेदन पनि स्वीकृत भइसकेको छ । कतार र साउदीले गर्ने ऋण लगानीबाहेक अन्य बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा पत्राचार गरिसकिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर स्वतन्त्रकुमार कर्णले बताए ।
ऋण लगानी गरेका देशबाट आउने रकमबाहेक अन्य रकम नेपाल सरकारले व्यवस्था गर्ने सम्झौताअनुसार अपुग रकमबारे अर्थ मन्त्रालयमा पत्राचार गरिसके पनि अहिलेसम्म ठोस जवाफ नआएको उनले जनाए । ‘सबै खालका मूल्यांकन र अध्ययन गरिसकेका छौं । ठेक्का गर्ने भन्ने आशयपत्र पनि जारी गरिसकेका छौं । तर अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता गर्नेबारे कुनै जानकारी आएको छैन,’ उनले भने, ‘मन्त्रालयले स्रोत व्यवस्थापन गर्न सक्ने गरी बजेट सुनिश्चित गरेको भए सबै कानुनी प्रक्रिया पूरा गरेर निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्न आउनुस् भन्न आतुर छौं ।’
पहिले काठमाडौंमा मुख्य कार्यालय रहेकामा अघिल्लो वर्षबाटै सबै जनशक्ति अछामकेन्द्रित भएको छ । ‘अहिले आयोजनाका सामान्य काम कम्युनिटी सपोर्ट, बाटो मर्मत, सडक निर्माण र कार्यालयका आन्तरिक काम गरिरहेका छौं,’ उनले भने, ‘ठेक्का प्रक्रियामा गएर निर्माण सुरु नै हुन सकेको छैन । सक्रियताका साथ काम गर्न पनि पाएका छैनौं ।’ आयोजना निर्माणका लागि सन् २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब नेपाली रुपैयाँ ऋण सम्झौता भइसकेको छ । २०७२ असार १४ गते सम्झौता भई ०७३ पुसमा डीपीआर तयार पार्ने जिम्मा पाएका अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्रालि र नेपालको कम्पनी उदय कन्सल्टेन्सीले करिब १ वर्षअघि मात्रै डीपीआर तयार पारेका हुन् । करिब १९ करोड ९१ लाख ३३ हजार लागतमा आयोजनाको डीपीआर तयार भएको छ ।
सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना निर्माणका लागि ०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार अनुमानित कुल लागत करिब १० अर्ब नेपाली रुपैयाँ छ । आयोजनाअनुसार इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी आयोजना निर्माणका लागि २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब र २०१२ जुलाई ४ मा कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५ मिलियन कुवेती दिनार (नेपाली १.८ अर्ब रुपैयाँ) ऋण सम्झौता भइसकेको छ ।
बाँकी रकम नेपाल सरकारले बेहोर्ने उक्त सम्झौतामा उल्लेख छ । हालसम्म आयोजनाका लागि ३२० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । विद्युत् गृह, सबस्टेसन, कार्यालय भवन, बाँधस्थललगायतका लागि तीन जिल्ला अछाम, बाजुरा र डोटीको जग्गा अधिग्रहण काम सकिएको हो । आयोजनाका अनुसार अछामको २५०, डोटीको ५० र बाजुराको २० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । प्रसारण लाइन टावरका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ भने र पुल निर्माण पनि सकिएको छ ।

Page 9
समाचार

शिक्षकको दलीय आबद्धता खोज्दै शिक्षा मन्त्रालय

शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही गरिने
- सुदीप कैनी

(काठमाडौं)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक पार्टीमा आबद्ध शिक्षकको पहिचान गर्न निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण माग गरेको छ । दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न सहज होस् भनेर आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गर्दै बिहीबार पत्राचार गरिएको शिक्षामन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको हो ।
‘राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको छ,’ शिक्षामन्त्री श्रेष्ठको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘दलीय आबद्धता भएका शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको हो ।’ प्रवक्ता केशव दाहालले शिक्षा मन्त्रालयको कानुन तथा फैसला शाखाले आयोगलाई पत्राचार गरी विवरण माग गरेको बताए । उजुरी प्राप्त भएका जिल्ला निर्वाचन कार्यालयबाट पनि विवरण माग गरी शिक्षक दलको सदस्य भए/नभएको पुष्टि गरी कारबाही अघि बढाइने उनले जनाए ।
निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीका विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीको विवरण भिडाएर हेर्ने जनाएको छ । शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री श्रेष्ठले शिक्षकहरूलाई राजनीतिक दलबाट स्वतन्त्रता खोज्न अपिलसमेत गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु गरिमाको दुरुपयोग भएको बताएकी छन् । राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकको आफ्नो पार्टीमा भएको सदस्यता खारेज गर्नुपर्ने उनको भनाइ छ । ‘माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलोबाहिर हात गर्ने दलहरूको चरित्र थाहा पाएर शिक्षकहरू स्वयंले पनि दलबाट स्वतन्त्रता खोज्नुपर्ने हो, दलीय शिक्षक संगठन खारेज हुनुपर्छ भन्ने मत हुँदाहुँदै पनि खारेज नहुनुको कारण राजनीतिक स्वार्थ र उपयोग गर्नेभन्दा अरू के होला र ?,’ उनले प्रश्न गरेकी छन् ।
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्नुपर्ने पनि श्रेष्ठले औंल्याएकी छन् । ‘शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरुपयोग हो । शिक्षकको आदर्श र महत्त्वको प्रदूषण हो । शिक्षकहरूको सरुवा, बढुवा र समग्र वृत्ति विकासका लागि राजनीतिक दलको झन्डा बोक्नैपर्ने अवस्था छ भन्ने गुनासो सुनेकी छु । त्यसका लागि पारदर्शी प्रक्रिया तोकौं, मेरिटका आधारमा गरौं, दलका अघि शिर झुकाउनुपर्ने नबनाऔं । शिक्षकहरूलाई सम्मानपूर्वक आफ्नो काम गर्न दिऊँ । सबै शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं,’ उनले लेखेकी छन् ।
शिक्षामन्त्री श्रेष्ठले वैशाख ४ मा नै राजनीतिक दलमा आबद्ध सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयअनुसार मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । केन्द्रले वैशाख ७ मा त्यस्ता शिक्षकलाई पदबाट हटाउन ७७ वटै जिल्ला इकाइलाई पत्राचार गरिसकेको छ । केन्द्रका शाखा अधिकृत हरिबहादुर श्रेष्ठले गरेको पत्राचारमा पदबाट हटाएको जानकारी मन्त्रालयमा पठाउन पनि भनिएको छ । कारबाहीका निम्ति आवश्यक सहयोग र सहजीकरणका लागि ७ सय ५३ वटै स्थानीय तहलाई बोधार्थसमेत पठाइएको छ ।
राजनीतिक दलमा सक्रिय शिक्षकका विषयमा उजुरी गर्न मन्त्रालयले आग्रहसमेत गरेको छ । केन्द्रले उजुरीका आधारमा कारबाही प्रक्रियालाई निरन्तरता दिनसमेत इकाइहरूलाई निर्देशन दिएको हो । मन्त्रालयमा हालसम्म परेका उजुरीहरूसमेत कारबाहीका लागि सम्बन्धित जिल्ला इकाइमा पठाइएको शिक्षा मन्त्रालयले जनाएको छ । १२ जना शिक्षकलाई कारबाहीको सिफारिस गरिएको छ । जसमा राजनीतिक दलको जिल्ला उपाध्यक्ष रहेका शिक्षकसमेत रहेका छन् । कतिपय जिल्ला इकाइहरूले पत्राचारअनुसार कारबाही पनि अघि बढाइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रीको निर्णयपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी उजुरी र गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ । शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले शिक्षकलाई राजनीतिक दलसम्बन्धी आबद्धताका लागि रोक लगाएको छ । मन्त्रालयले ऐनको प्रभावकारी कार्यान्वयनका लागि समेत मातहत निकायमा निर्देशन दिएको हो । पाटन उच्च अदालतले २०७९ जेठ ४ मा उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु/गराउनु भनी सरकारका नाममा परमादेशसमेत जारी गरेको थियो ।
शिक्षा ऐनको दफा १६ मा शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समिति सदस्य रहेमा पदबाट हटाउन सकिने व्यवस्था छ । दलको विधानबमोजिम गठित केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहस्तरका समितिलाई कार्यकारिणी भनिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १४ मा दलले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीको पदमा बहाल रहेको व्यक्तिलाई सदस्यता प्रदान गर्न नसक्ने उल्लेख छ । राजनीतिक दलपिच्छे शिक्षकका संघसंगठन क्रियाशील छन् । तिनै संघसंगठनमार्फत शिक्षक दलीय गतिविधिमा संलग्न हुँदै आएका छन् । दलहरूको विधानमै शिक्षक, प्राध्यापकबाट प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसअघि उजुरीपछि निर्वाचन आयोगले प्राध्यापकलाई महाधिवेशन प्रतिनिधिबाट हटाउन कांग्रेस र त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको थियो ।

समाचार

स्कुटर दुर्घटनामा परी पत्रकार राई गम्भीर घाइते

काठमाडौं (कास)– स्कुटर दुर्घटनामा परी पत्रकार नवीन राई गम्भीर घाइते भएका छन् । गम्भीर घाइते राईलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । प्रहरी वृत्त, दरबारमार्गका डीएसपी गोविन्द थापाका अनुसार राई सवार स्कुटर शनिबार बिहान ४ बजेतिर कमलादीमा दुर्घटनामा परेको हो । स्कुटरको पछाडि बसेका उनी सडकमा खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो । ट्रमा सेन्टरले थप उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल रिफर गरिदिएको थियो । केएमसीमा शनिबार नै उनको टाउकोको शल्यक्रिया गरिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । दुर्घटनापछि सामान्य घाइते भएका स्कुटर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । राई हाल नेपाल प्रेस डटकममा कार्यरत छन् । कविसमेत रहेका उनी विशेषतः कला, साहित्य क्षेत्रका समाचार लेख्ने गर्छन् ।

Page 10
खेलकुद

अपराजित एपीएफ च्याम्पियन

शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबलको सातौं संस्करणमा एपीएफ छैटौं पटक विजेता
- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपाल एपीएफ क्लब शनिबार सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्याम्पियन भएको छ । एपीएफ साबिक उपविजेता टोली हो । सातौं संस्करण हुँदै एपीएफ छैटौंपल्ट च्याम्पियन भएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्ध सफलता पाएको थियो । एपीएफ सोझो सेटमै विजयी भयो । एपीएफले प्रतिस्पर्धात्मक २५–२२, २६–२४, २५–१९ को सेटमा नतिजा निकालेको थियो । फाइनलमा एपीएफकी पूजा थारु प्लेयर अफ द म्याच चुनिइन् ।
पछिल्लो संस्करण फाइनलमा एपीएफ प्रतिद्वन्द्वी न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । यसपालि एपीएफ अपराजित रह्यो । राउन्ड रोबिन लिगमा एपीएफले पुलिस, आर्मी र न्यु डायमन्डलाई हराएको थियो । चार टोलीमात्र सहभागिता रहेको राउन्ड रोबिनका शीर्ष दुई टिमले फाइनल खेलेका थिए । चारै टोली नगद पुरस्कारको हकदार भए ।
विजेता एपीएफले ४ लाख ९९ हजार र उपविजेता पुलिसले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।
साबिक विजेता न्यु डायमन्ड तेस्रो भयो । शनिबारै तेस्रो स्थानको खेलमा न्यु डायमन्डले आर्मीलाई ३–१ (२४–२६, २५–२०, २५–१५, २५–२०) सेटले हराएको थियो । राउन्ड रोबिनमा पनि न्यु डायमन्डले आर्मीमाथि सफलता पाएको थियो । डायमन्डकी रिमा कुँवर प्लेयर अफ द म्याच बनिन् । न्यु डायमन्डले १ लाख २५ हजार र आर्मीले ६२ हजार ५ सय रुपैयँ पुरस्कार प्राप्त गरे ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले केएनपी नेरोलेकको मुख्य प्रायोजनमा आयोजना गरेको प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी भइन् । उनी ५० हजारबाट पुरस्कृत भइन् । विधागततर्फ पुलिसकी लक्ष्मी चन्द स्पाइकर, एपीएफकी कविता भट्ट सर्भर, न्यु डायमन्डकी सुमित्रा रेग्मी ब्लकर, एपीएफकी जसना महतो सेटर, पुलिसकी शान्तिकला तामाङ लिबेरो र एपीएफका महेश चौधरी प्रशिक्षकमा उत्कृष्ट चुनिए ।
विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पुरस्कार जिते । हरेक खेलको प्लेयर अफ द म्याचले १५ हजार पुरस्कार पाए ।
विजेता टिम तथा खेलाडीलाई वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कृत गरे । आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितालाई आगामी दिनमा अझै परिस्कृत गर्दै लैजाने बताएका छन् ।

खेलकुद

महिला हक्कीमा आर्मी विजयी

काठमाडौं (कास)– विभागीय टोली आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुआत
गरेको छ ।
धुलिखेल मैदानमा शनिबार उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । आर्मीका सीमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले गोल गरे । २१ औं मिनेटमा सीमाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । डम्मराले ५० औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाइन् । सरस्वतीले ५६ औं मिनेटबाट तेस्रो गोल गरिन् । आर्मीले ३ अंक जोडेको छ ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेश प्रदेशसँग १–१ गोलले बराबरी खेले । लुम्बिनीका लागि अनन्या बर्नावालले सातौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । मधेशकी आरतीकुमारी महतोले ४० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । दुवैले १–१ अंक बाँडेका छन् ।
आइतबार चार खेल हुनेछ । आर्मीले वाग्मती प्रदेश, सुदूरपश्चिमले मधेश, गण्डकीले वाग्मती र लुम्बिनीले सुदूरपश्चिमसँग खेल्नेछन् ।
प्रतियोगितामा आर्मी, वाग्मती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल्नेछन् । विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खेलकुद

एपीएफलाई मिल्स गोल्डकप

- विनोद भण्डारी

(विराटनगर)
सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार विराटनगर जुट मिलको मैदानमा सम्पन्न फाइनलमा स्थानीय टोली पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले हराउँदै पहिलो संस्करण विजेता एपीएफले दोस्रोपल्ट उपाधि जितेको हो ।
एपीएफले २ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार पाउँदा पेमा युवाले १ लाख ११ हजारमा चित्त बुझायो । एपीएफबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले गोल गरेका थिए । पेमा युवाबाट मिलन राईको नाममा एक गोल रह्यो । खेलमा सुरुआती अग्रता भने पेमा युवाले मिलनको गोलमार्फत लिएको थियो । खेलको ११ औं मिनेटमा सुरज सुब्बाको क्रसमा मिलनले गोल गरेका थिए । पेमाको अग्रता दुई मिनेट पनि टिकेन । १३ औ मिनेटमा भरत कपालीले गोल गर्दै एपीएफलाई खेलमा फर्काए । पेमाका गोलकिपर अरुणले पञ्च गरेर फर्काएको बलमा भरतले वान टचमै गोल गरे ।
पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा एपीएफले दुई गोल थप्यो । हरि कार्कीको छोटो पासमा दिसनले ६० औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । धनबहादुरले ७४ औं मिनेटमा गोल थप्दै एपीएफको जित निश्चित गरे । उनले दिसनको पास सदुपयोग गरे ।
प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । सर्वाधिक गोलकर्ता हरि कार्की भए । उनले ३ गोल गरे । उत्कृष्ट गोलकिपर एपीएफका सुजन बिक र टुर्नामेन्ट अफ द इयर पेमा युवाका कोमल खवास घोषित भए । प्रतियोगितामा कोशी र मधेश प्रदेशका आठ
‘ए’ डिभिजन टोलीको सहभागिता थियो ।

खेलकुद

उपत्यकाव्यापी मेयर कप सुरु

ललितपुर (कास)– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता शनिबार सुरु भएको छ ।
टाहाखेल–झ्यालुनटारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको मैदानमा महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिका ‘ए’ टिमलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हराएको थियो । महालक्ष्मीका सिद्धान्त अधिकारी, निशान राउत, सरोज राई र निशान बस्नेतले गोल गरे । गोदावरीका सुवास तामाङ र सायर तामाङले गोल गरे । गोदावरीको सुरुआती दुई पेनाल्टी गोलमा परिणत हुन सकेन । नीराजन मर्हजन र वाङ्गेल लामाको प्रहार गोल भएन ।
दुई पेनाल्टी रोकेका महालक्ष्मीका गोलकिपर आर्यन मर्हजन म्यान अफ द म्याच भए । उनले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बनेको थियो ।
महालक्ष्मीले दक्षिणकाली नगरपालिकासँग सेमिफाइनल प्रवेशका लागि वैशाख २१ मा प्रतिस्पर्धा गर्नेछ । दक्षिणकाली सिधै बाई पाएर क्बाटरफाइनलमा पुगेको हो । उपत्यकाभित्रका १४ पालिकाका १५ टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । नवनिर्मित झ्यालुन्टार खेल मैदानको पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फेयर–प्ले टिमले ५० हजार र उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।

खेलकुद

प्रदीप र अभिलाषाद्वारा उपाधि रक्षा

काठमाडौं (कास)– प्रदीप खड्का र अभिलाषा विष्ट १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा बनेका छन् । दुवै डिफेन्डिङ च्याम्पियन हुन् ।
प्रदीपले पुरुष र अभिलाषाले महिला सिंगल्स उपाधि रक्षा गरे । त्रिपुरेश्वरस्थित राखेप टेनिस कोर्टमा प्रदीपले फाइनलमा प्रणव मानन्धरलाई ६–३, ६–२ को सोझो सेटमा हराए । अभिलाषाले सुनीरा थापालाई ६–०, ६–१ को सेटमा हराइन् ।
दुवैका विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाए । अभिलाषाले मिक्स डबल्समा पनि ऋतिक रानासँग मिलेर स्वर्ण जितेकी थिइन् । भेट्रानमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र विमलकुमार गुरुङले दोहोरो स्वर्ण जिते । जितेन्द्रले ३५ वर्षमाथि सिंगल्स र डबल्स तथा विमलले ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण जितेका थिए । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा तथा डबल्समा विदुर विष्ट र धीरबहादुर गुरुङ विजेता भए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले स्वर्ण जितेका थिए ।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित विजेतालाई प्रायोजक सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डे, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका अध्यक्ष मनोहरदास मुललगायतले पुरस्कृत गरे । बैंकका अध्यक्ष पाण्डेले आउने संस्करणदेखि प्रायोजन रकममा वृद्धि गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा १ सय ५१ खेलाडीले ११ विधामा प्रतिस्पर्धा गरेका थिए । सबै विधाका शीर्ष तीन स्थान हात पार्नेले नगद पुरस्कार पाए । ५ लाख ८२ हजार ५ सय रुपैयाँ पुरस्कार वितरण गरियो ।

खेलकुद

भेट्रान नवीनको अग्रता

छोटकरी

काठमाडौं (कास)– पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ क्लासिकल बुद्धिचाल प्रतियोगितामा अग्रता लिएका छन् । उनले तीन चरणको खेल सकिँदा शतप्रतिशत जित निकाल्दै ३ अंक बटुलेका छन् । तेस्रो चरणमा १८५८ रेटड नवीनले आफूभन्दा उच्च १९३३ रेटेड सविनचन्द्र घिमिरेलाई हराए । उनले यसअघि काठमाडौंका वसन्त गुरुङ र ललितपुरका साकार राईलाई हराएका थिए । हेटौंडाका क्षितिज भण्डारी, दुई पटकका पूर्व विजेता सजिन महर्जन, पूर्व विजेता मिलन लामा, यू–१६ च्याम्पियन पुरुषोत्तम सिलवाल, ललितपुरका सुरोज महर्जन, झापाका राजन सुवेदी, ललितपुरका रुपेश जैसवाल र कमल श्रेष्ठ, भक्तपुरका निकेन कुसाथाले खेलेका सबै खेल जितेका छन् ।

खेलकुद

दिल्लीसँग मुम्बईको हार

छोटकरी

दिल्ली (एएफपी)– अस्ट्रेलियाका ज्याक फ्रेजरले २७ बलमा ८४ रन बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अर्को हाइस्कोरिङ खेलमा मुम्बई इन्डियन्सलाई १० रनले पराजित गरेको छ । दिल्लीले घरेलु मैदानमा २५७–४ को स्कोर बनाएको थियो । आईपीएलमा दिल्लीको यो उच्च स्कोर हो । सन् २०११ मा टोलीले पन्जाब किंग्सविरुद्ध २३१–४ को स्कोर बनाउनु टोलीको उच्च स्कोर थियो । यसै सिजनदेखि आईपीएल खेलिरहेका २२ वर्षे फ्रेजरले ५ खेलमा ३ अर्धशतक बनाइसकेका छन् । उनले पहिलो ओभरमै लुक उडलाई १९ रन प्रहार गरेका १५ बलमै अर्धशतक बनाए । बलरको राम्रो प्रदर्शनपछि दिल्लीले मुम्बईलाई २४७–९ को स्कोरमा रोकेको थियो । तिलक वर्माले ३२ बलमा ६३ रन बनाए पनि मुम्बईलाई जिताउन सकेनन् । कप्तान हार्दिक पाण्ड्येले २४ बलमा ४६ रन बनाए । मुम्बईले ९ खेलमा छैटौं हार भोगेको हो । १० खेलमा पाँचौं जित हात पार्दै दिल्ली पाँचौं स्थानमा उक्लिएको छ ।

खेलकुद

उकेश र टार्जनलाई कांस्य

छोटकरी

काठमाडौं (कास)– नेपाली तेक्वान्दो खेलाडीले जापानमा भइरहेको २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा दुई पदक जितेका छन् । शनिबार पुरुष ३० केजीमुनि तौल समूहमा टार्जन मगर र उकेश थापा मगरले कांस्य पदक जितेका छन् । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरेका थिए । २४ देशको सहभागिता रहेको प्रतियोगितामा आइतबार १३ औं साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । नीरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत खेलाडीको पनि आइतबार प्रतिस्पर्धा छ । ओसाकामा भइरहेको प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोगमा भएको हो ।