You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

सहकारीको बचत रिसोर्टमा लगानी, सञ्चालक सांसदविरुद्ध अदालतको पक्राउ पुर्जी

- जनकराज सापकोटा,नारायण शर्मा

(काठमाडौं/पूर्वी नवलपरासी)
सर्वसाधारणको बचत हिनामिनामा सहकारी सञ्चालक मात्र होइन, निजी कम्पनीमा लगानी गर्ने सांसदलाई पनि अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दिर्याको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख लिएर
आफ्नो समूहको रिसोर्टमा लगानी गर्ने राप्रपाकी संघीय सांसद गीता बस्नेतलाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।
अदालतबाट पक्राउ अनुमति पाइसकेपछि पनि कार्यान्वयन गर्नुको सट्टा प्रहरी भने प्रदेश र प्रधान कार्यालयमा पत्राचार गर्दै अलमल गरिरहेको छ । नजिर गृहमन्त्री रवि लामिछानेलाई पनि लागू हुने भन्दै प्रहरी अलमलमा परेको हो ।
सांसद बस्नेतसमेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा तीन जिल्लाका तीन सहकारीको बचत लगानी गरी हिनामिना गरिएको थियो । कान्तिपुरलाई प्राप्त कागजातमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको छिपछिपे उपभोक्ता सहकारी, चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी र बर्दियामा रहेको नमस्ते बचत तथा ऋण सहकारीबाट कृष्णसार रिसोर्टमा बिनाधितो ऋण प्रवाह भएको छ ।
सहकारी ऐन २०७४ को दफा ५० मा सहकारीले आफ्नो सदस्यको मात्र बचत स्वीकार गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । ‘सहकारी संस्थाले संकलन गरेको बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्नबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण कारोबारमा लगानी, फर्म वा कम्पनीको कुनै बैंक (सहकारी बैंकबाहेक) को सेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्नु हुँदैन,’ ऐनमा भनिएको छ ।
सहकारीको रकम हिनामिना गर्नेलाई दण्डित गर्न जरिवाना र जेल सजायसमेत हुने व्यवस्था ऐनको दफा १२२ ले गरेको छ । झूटा विवरण दिई ऋण लिएमा, धितो कमसल ठहरिएमा वा कर्जा हिनामिना गरेमा बिगो भराइ, बिगो बराबरको जरिवाना र ६ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । प्रहरी र सरकारी वकिलको कार्यालयले यही दफा प्रयोग गरी अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढ्ने जनाएका छन् ।
नवलपुर जिल्ला प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको
कार्यालयले अघि बढाएको प्रक्रियाअनुसार जिल्ला अदालतले सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतले सांसदलाई पक्राउ गर्न आदेश दिएको जानकारी जिल्ला प्रहरी कार्यालयले प्रदेश प्रहरी कार्यालय लुम्बिनीलाई र उक्त कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको छ ।
जिल्ला प्रहरीले लेखेको पत्रमा भनिएको छ, ‘सहकारी ऐन २०७४ अनुसारको कसुर मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा हामीहरूले बर्दिया जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिकतर्फबाट संघीय सांसद रहेकी गीता बस्नेतसमेतको संलग्नतामा चितवन जिल्लामा सञ्चालित सनराइज बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासीपूर्वको छिपछिपे उपभोक्ता सहकारी संस्था लि. तथा बर्दिया जिल्लामा सञ्चालनमा रहेको नमस्ते बचत तथा ऋण सहकारी
संस्था लि. समेतको बचत हिनामिना गरी बर्दिया जिल्लामा रहेको कृष्णसार रिसोर्टमा लगानी गरेको भनी बयान ब्यहोरामा खुलाई/लेखाइदिएको तथा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशबाट खटिएका वित्तीय विश्लेषक निर्मल गौतमले पेस गरेको वित्तीय विश्लेषणसहितको प्रतिवेदनमा खुलेको हुँदा लालबहादुर गुरुङकी छोरी, सुकमान बस्नेतकी श्रीमती जिल्ला बर्दिया गुलरिया नगरपालिका ९ वतन भई ऐन वडा नं. ४ बस्ने वर्ष ६७ की गीता बस्नेतलाई प्रस्तुत मुद्दामा पक्राउ गरी अनुसन्धान गर्नका लागि सम्मानित नवलपुर जिल्ला अदालतबाट पक्राउ अनुमतिसमेत प्राप्त भइआएकाले निज बस्नेत संघीय संसद्को सदस्य रहे नरहेको सम्बन्धमा यकिन विवरण पठाई दिनका लागि...।’

साग तथा दूध बेचेर, सडकमा मकै तथा बदाम बेचेर जम्मा गरेको पैसा रिसोर्टमा लगानी गरी हिनामिना गरेको तथा बचत फिर्ता नगरेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरी अधिकारीहरूका अनुसार योगेन्द्र पाण्डे, नरेन्द्र रिजाल र सञ्जीव महतोलगायतको एउटै समूहले नवलपुर, चितवन र बर्दियामा फरकफरक नाममा सहकारी सञ्चालन गरेको थियो ।
नवलपुरको छिपछिपे सहकारीका योगेन्द्र पाण्डे अध्यक्ष र नगेन्द्रबहादुर रिमाल सचिव छन् भने चितवनको सनराइज सहकारीमा नगेन्द्र अध्यक्ष र योगेन्द्र सचिव छन् । बर्दियाको नमस्ते सहकारीमा भने नगेन्द्र अध्यक्ष र सञ्जीवकुमार महतो व्यवस्थापक छन् । सहकारी सञ्चालकहरू पाण्डे, रिजाल, महतो तथा सांसद बस्नेतले बर्दियामा कृष्णसार रिसोर्ट सञ्चालन गरिरहेका छन् । ‘बचत हिनामिनामा संलग्न सहकारीका सञ्चालकहरू पाण्डे, रिजाल, महतोसहित ६ जना पक्राउ परिसकेका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘निजी कम्पनी खडा गरी सञ्चालनमा ल्याइएको रिसोर्टकी अध्यक्ष तथा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी गर्ने कि नगर्ने भनेर हामीले जिल्ला अदालतलाई सोध्यौं । अदालतले पक्राउ गर्नु भन्ने अनुमति दिएपछि प्रहरी प्रधान कार्यालयमा जानकारी पठाएका छौं ।’
रिसोर्टमा लगानी गरिएको रकमबापत धितोसमेत नराखिएको र एक पटक पनि किस्ता नतिरेको पूर्वी नवलपरासीका जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले बताए । ‘न धितो राखिएको छ, न किस्ता तिरिएको छ । रिसोर्टकी सञ्चालक बस्नेतलाई पक्राउ गर्न र बयानका लागि उपस्थित गराउन जिल्ला अदालतले अनुमति दिएको छ,’ उनले भने ।
पूर्वी नवलपुरका जिल्ला प्रहरी प्रमुख नरहरि रेग्मीले सहकारीको अनुसन्धान अन्तिम चरणमा पुगेकाले तत्कालै केही बताउन नसकिने बताए । ‘अनुसन्धान सकिएपछि विस्तृत विवरण सार्वजनिक गर्नेछौं,’ उनले भने ।
बर्दियामा रहेको कृष्णसार रिसोर्ट सांसद बस्नेतकै जग्गामा भएको देखिन्छ । प्रहरी अनुसन्धानमा नगेन्द्रबहादुर र सांसद गीताको योजनामा सहकारीको रकमबाटै रिसोर्टको आन्तरिक साजसज्जामा समेत ठूलो लगानी गएको देखिन्छ । सांसद गीताका छोरीज्वाइँ एवं छिपछिपे बचत सहकारीका सचिव, सनराइज र नमस्ते सहकारीका अध्यक्षसमेत रहेका नगेन्द्रकुमार रिमालले २१ कट्ठामा भएको रिसोर्टको संरचना तयार गर्ने क्रममा पैसाको आवश्यकता परेकाले सहकारीबाट रकम ल्याएर लगानी गर्ने र रिसोर्टबाट प्राप्त हुने नाफा सहकारीमा राख्ने गरी सनराइज सहकारीबाट ७ करोड र नमस्ते सहकारीबाट ७ करोड रकम लगेको देखिन्छ ।
बचतकर्ताको उजुरीपछि गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक तथा परामर्शदाता गौतमलाई छानबिनमा खटाएको थियो । गौतमले फागुन २९ मा बुझाएको प्रतिवेदनमा सहकारीको रकम हिनामिना गर्नेहरूको विस्तृत विवरण र रकम उल्लेख छ ।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम, नेपालगन्जको समानता, वीरगन्जको सानो पाइला र काठमाडौंका स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा पैसा सारेजस्तै चितवन, नवलपुर र बर्दियाका तीन सहकारीबाट कृष्णसार रिसोर्टमा लगानी गर्दा धितोलगायत कुनै प्रक्रिया पूरा गरिएको छैन । दुई हजार तीन सय ९३ बचतकर्ताको १६ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै नवलपुरको छिपछिपे सहकारीका बचतकर्ता प्रहरीमा पुगेपछि सांसद बस्तेतसहितको समूहले सहकारीको रकम अपचलन गरी रिसोर्टमा लगानी गरेको तथ्य खुलेको थियो ।

मुख्य पृष्ठ

मजदुर जसले २७ करोड ९० लाख करछलीको अभियोगबाट सफाइ पाए

- घनश्याम खड्का

(काठमाडौं)
मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका उमाशंकर रायभरमाथि २०७७ फागुनको दोस्रो साता एकाएक बज्रपात भयो । २७ करोड ९० लाख राजस्व छलीको आरोपमा पाटन उच्च अदालतमा मुद्दा परेको थाहा पाएपछि उनी बिलखबन्दमा परेका थिए ।
नागरिकता र हस्ताक्षर अर्कैले दुरूपयोग गरिदिँदा उनी २७ करोड ९० लाख रुपैयाँ राजस्व छलीको मुद्दामा फसेका थिए । उक्त मुद्दाका कारण ११ महिने जेल तथा अनेकौं तारिख बुझ्न बिर्तामोडदेखि काठमाडौं धाउँदाधाउँदैको सास्तीले हैरान थिए ।
निर्दोष व्यक्ति कुनै हालतमा पनि अन्यायमा पर्नु हुँदैन भनेरै अधिवक्ता राधिका खतिवडा २९ महिनादेखि उमाशंकरको मुद्दा निःशुल्क लडिरहेकी थिइन् । र, त्यसमा भैपरी आउने खर्च पनि आफैं हालिरहेकी थिइन् । सोमबार साँझ फैसला भएको थाहा पाएपछि राधिका उच्च अदालत पुगेकी थिइन् । ‘साँझ उच्चको वेबसाइटमा आंशिक दाबी पुग्ने भनेर लेखिएको थियो जसले को छुटे र को कसुरदार भए भन्ने खुल्दैनथ्यो,’ राधिका भन्छिन्, ‘त्यसैले अदालत गएर मिसिल पल्टाउनैपर्ने अवस्था आइलाग्यो र म गएँ । उमाशंकरले सफाइ पाएको देखेपछि खुसीको सीमा नै रहेन ।’
अदालतले मिसिलको रकमी अभियोगको पर्दार् च्यातेर त्यसभित्रको वास्तविकतालाई देख्यो । ‘मानिसले फरकफरक भगवान् मान्छन् तर मेरा लागि अधिवक्ता राधिका खतिवडा भगवान् हो, जसले मलाई जेलमुक्त गराउनुभयो, मेरो मुद्दा निःशुल्क लडिदिनुभयो, मलाई झूटो मुद्दाबाट सफाइ दिलाउनुभयो,’ उमाशंकरले फेसबुकमा लेखेका छन्, ‘म सधैं उहाँलाई मान्छेका रूपमा होइन भगवान्का रूपमा सम्झिन्छु, मलाई सहयोग गर्ने सबैजनालाई धन्यवाद ।’
त्यसपछि उनले बाराको परवानीपुरस्थित घरमा बसिरहेका बाबु राजेन्द्रलाई फोन गरेर आफूले झूटा मुद्दाबाट सफाइ पाएको खबर सुनाए ।
‘उनले हारेको भए सत्यले हार्थ्यो, न्यायालयमाथि यो नागरिकको भरोसाले हार्थ्यो, उनले जितेर
सत्यको जित भएको छ, जनआस्था बाँचेको छ,’ राधिका भन्छिन्, ‘छाक टार्न श्रम नगरी नहुने अवस्थाको मान्छेलाई राज्यले कागजपत्र मात्रै हेरेका भरमा लगाएको २८ करोडको मुद्दामा उनले सफाइ नपाएका भए रायभरको मात्रै होइन, उनको परिवारकै जीवन संकटमा पर्थ्यो
भने अदालतमाथि भुइँमान्छेको भरोसा टुट्थ्यो ।’

पाटन उच्च अदालतका न्यायाधीशहरू दीपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको इजलासले रायभरको नागरिकता र हस्ताक्षरको दुरूपयोग गरी लाभ लिने सर्लाहीका सरोजकुमार मिश्रलगायतलाई मुख्य दोषी करार गर्दै रायभरलाई सफाइ दिने फैसलाले कानुनको आत्मा जगाएको खतिवडाको बुझाइ छ । ‘प्राविधिक हिसाबले मात्रै फैसला गरेको भए रायभर जेल जाने थिए, तर त्यसले अन्याय हुने थियो,’ राधिका भन्छिन्, ‘अदालतले न्यायको आत्मामा पसेर विचार पुर्‍याएको हुनाले रायभरले जिते, यो उनको मात्र जित होइन, न्यायको जित हो ।’
झूटो मुद्दाका कारण रायभर ११ महिना पुर्पक्षका लागि थुनामा परेका थिए । ७५ लाख धरौटी तिर्न नसक्दा नख्खु कारागार चलान भएका थिए । जेलमा कसैले उमाशंकरलाई सुनाएछ, एक वर्ष थुनामा बसेपछि बल्ल एक लाख कटिन्छ । त्यस हिसाबले पनि ७५ वर्ष जेल बस्नुपर्ने ठानेका उमाशंकरले घरमा फोन गरेर आफू जेलबाट निस्कन नसक्ने बताएका थिए । ‘श्रीमतीलाई फोनमा अब जेलमै मर्ने भएँ, तिमी अर्कै कोही खोजेर बिहा गर्नु, मलाई नकुर्नु भन्दारहेछन्,’ राधिका भन्छिन्, ‘त्यो सुनेपछि मलाई जमिन नै भास्सिएजस्तो भएको थियो, अनि मैले जसरी हुन्छ उमाशंकरलाई छुटाएरै छाड्ने प्रण गरें ।’
सुरुसुरुमा उमाशंकर राधिकासँग बोल्न धकाउँथे । पछि राधिकाले उनको पक्षमा गरेको बहस, उच्च अदालतको धरौटीविरुद्ध सर्वोच्चमा हालेको निवेदन र त्यसलाई २५ हजारमा झार्न गरेको मिहिनेत देखेर प्रभावित भए । त्यही २५ हजार धरौटीमा पनि जसोतसो २० हजार मात्रै जुटाउन सकेपछि राधिकाले नपुग पाँच हजार हालिदिएपछि त उनले ‘म्याम’ भन्ने राधिकालाई दिदी भन्न थाले । मुद्दा जितेपछि भने उनले यतिबेला ‘भगवान्’ नै मानेका छन् । उमाशंकरको नागरिकता, फोटो, हस्ताक्षर र ल्याप्चे दुरूपयोग गरी सर्लाहीका सरोजकुमार मिश्रले खोलेको ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्सले गरेको राजस्व छलीको भार अब वास्तविक कसुरदारकै भागमा परेको छ । राजस्व अनुसन्धान विभागले उनीविरुद्ध चलाएको मुद्दामा उमाशंकरले राजस्व छली गरेको प्रमाणित नभएपछि उच्च अदालतले सफाइ दिएसँगै उनको तीन वर्षदेखिको दुःखले विश्राम पाएको छ । मोटरसाइकल धुने र गाडी मर्मत गर्ने जागिरले महिनाको २०–२२ हजार कमाउने र त्यसैले परिवार पाल्दै आएका उनलाई राज्यले लगाएको राजस्व छलीको मुद्दाले अकल्पनीय दुःख मात्रै दिएको थिएन, अनाहकमा थुनेको पनि थियो । यसबारे ‘जो ठगको फन्दामा परेर जेल पुगे’ शीर्षकमा तुफान न्यौपानेले २०७८ कात्तिक १३ को कान्तिपुरमा समाचार लेखेर उजागार गरिदिएका थिए ।
कर छल्न अनेक प्रपञ्च रच्ने व्यापारिक षड्यन्त्रको तानाबानामा उनको नाम र नागरिकताको दुरूपयोग हुन पुग्दा राजस्व अनुसन्धान विभागको कागजी प्रतिवेदनमा उनी दोषी देखिन पुगेका हुन् । विभागले चार वर्षअघि उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा रायभर दुई कम्पनीका मालिक देखिएका थिए । जसमध्ये उनीमाथि ब्लुक्रस ट्रेडर्सबाट १५ करोड ८७ लाख र जेन सप्लायर्सबाट १२ करोड ३ लाख रुपैयाँ गरी २७ करोड ९० लाख ५१ हजार रुपैयाँ कर छलेको अभियोग लगाइएको थियो । यो रकम जरिवानासहित असुलउपर र पाँच वर्षसम्म जेल सजाय हुनुपर्ने माग राजस्व विभागले दायर गरेको मुद्दामा उल्लेख थियो ।
रायभरलगायत ५७ विरुद्ध दायर मुद्दाको थुनछेक बहसमा उच्च अदालतले उनलाई ७५ लाख धरौटी तिर्न २०७७ फागुन १९ मा आदेश गरेको थियो । तर, उक्त रकम यो जुनीमा तिर्न सक्ने अवस्था नरहेका उनलाई धरौटी बुझाउन नसकेको भन्दै सरकारले जेल पठाएको थियो  । न्याय प्राविधिक भयो भने निर्दोष हुँदाहुँदै पनि रायभरजस्ता व्यक्तिले जेल जानुपर्ने र उनलाई फसाउने असली कसुरदार चाहिँ कानुनको दायरा बाहिरै रहने जिकिर सुनेर सर्वोच्चले धरौटी २५ हजारमा झार्न ११ महिना लगाएको थियो । त्यस अवधिभर उनी जेल बसे ।
सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको इजलासले २०७८ माघमा रायभरको धरौटी २५ हजार कायम गर्दा पनि उनले तिर्न नसकेपछि अपुग ५ हजार रकम अधिवक्ता खतिवडाले सहयोग गरेकी थिइन् । उमाशंकर यो कानुनी जञ्जालमा फस्न आइपुग्नुमा उनको चरम गरिबी र विवश जीवनलाई उपयोग गर्ने आपराधिक गिरोहको मुख्य भूमिका छ । ग्यारेजमा राम्रो जागिर लगाइदिने बहानामा रायभरलाई उनकै गाउँ बारा परवानीपुरका छिमेकी उमाशंकर सहनीले २०७० मा काठमाडौं ल्याएका थिए ।
‘उसैले एक दिन सरोजकुमार मिश्र भन्ने मान्छेसँग चिनजान गराइदिएको थियो,’ उमाशंकर भन्छन्, ‘भेट्नेबित्तिकै सरोजकुमारले नागरिकता ल्याऊ, राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर आश्वासन दियो ।’ होला त नि भनेर सर्लाही गोडैता–८ का मिश्रलाई रायभरले नागरिकता दिए । तर नागरिकता दिएको केही दिनमै यता मिश्रले दुई कम्पनी खोले– ब्लुक्रस ट्रेडर्स र जे एन्ड सप्लायर्स । यी दुवैको मालिक आफैं हुँ भन्ने रायभरलाई थाहा पत्तो थिएन । उमाशंकरलाई मालिक बनाएर खोलिएको व्यापारिक कारोबार गर्ने कम्पनीको बैंक खाताचाहिँ सरोजकुमारले प्रयोग गर्ने गरेका थिए । विदेशबाट मोटरका पार्टपुर्जा ल्याएर भन्सार छली गर्ने र कर न तिर्ने काममा कम्पनीको खाता प्रयोग भएको थियो । यसको जानकारी उमाशंकरलाई एकै पटक राजस्वको अनुसन्धानपछि मात्रै थाहा भयो । यतिञ्जेल, सरोजकुमार फरार भइसकेका थिए जसलाई अहिले पनि राज्य संयन्त्रले पक्राउ गर्न सकेको छैन ।

 

मुख्य पृष्ठ

तुवाँलोले छेक्यो पोखरा

- सुरज कुँवर

(काठमाडौं)
दैनिक ४५ सय हाराहारी यात्रुको ओहोरदोहोर हुने पोखरा क्षेत्रीय विमानस्थलमा सोमबार र मंगलबार एउटै उडान भएन । शुक्रबारयता डढेलो मिसिएको तुवाँलोका कारण उडान प्रभावित हुँदै आएको छ । तुवाँलोकै कारण काठमाडौंबाट पश्चिम तराईका भैरहवा, नेपालगन्ज, धनगढीतर्फ उड्दै गरेका जहाज जब मनकामना कटेर बन्दीपुर आकाशमा पस्छन्, न राम्ररी पोखरा देखिन्छ न फेवा र बेगनास ताल नै ।
‘हामी पश्चिमतिर जाँदै गर्दा ककपिटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि छ्याङ्गै सफा देखिन्छन्,’ बुद्ध एयरका एक वरिष्ठ एटीआर पाइलटले भने, ‘तर हिजोआज पोखरा जस्ता भित्री उपत्यकाहरू धूवाँ, धूलो मिसिएको तुवाँलोले डम्मै भरिएको छ ।’ उनका अनुसार, १२ हजार ५ सय फिट उचाइभन्दा माथि आकाश सफा छ । तर त्यसभन्दा तल मध्यपहाडी क्षेत्रको आकाश भने चुरे क्षेत्रको डढेलो र धूलो मिश्रित तुवाँलोले प्रभावित छ । ‘माथिबाट सीधा तल (भर्टिकल) हेर्दा धुमिलो भुइँ देखिन्छ तर जहाजलाई अवतरण गराउन सीधा हेर्दा अगाडि देखिँदैन,’ ती पाइलटले भने ।
पोखरा क्षेत्रीय विमानस्थल प्रमुख नविना कर्माचार्यले मंगलबारबाट मौसम सुधार हुने पूर्वानुमान गरिएको
भए पनि त्यस्तो हुन नसकेको बताइन् । ‘हिजो (सोमबार) र आज (मंगलबार) तुवाँलोले ठप्पै
बनायो,’ उनले कान्तिपुरसँग भनिन्, ‘विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले मंगलबारबाट मौसममा सुधार हुने पूर्वानुमान गरेको थियो । तर, पानी पर्ने संकेत देखिँदैन, हावा पनि छैन । तत्काल सुधारको सम्भावना कमै छ ।’
पोखरामा हेरेर उडान गर्दा ५ हजार मिटर अनि उपकरणको सहायता (आईएलएस) बाट उडान गराउँदा न्यूनतम ३६ सय मिटरसम्म ‘भिजिबिलिटी’ आवश्यक पर्छ । तर पोखरामा शुक्रबारयता ‘भिजिबिलिटी’ ३ हजार मिटरभन्दा माथि स्थिर हुन सकेको छैन । केहीबेर सुधार भए पनि फेरि घटिहाल्छ ।

सोमबार साँझ केहीबेर पोखराको भिजिबिलिटी ३५ सय पुगेपछि काठमाडौं विमानस्थलमा बुद्धका तीन, यतीका दुई र श्रीको एक गरी ६ वटा विमान पोखरा उड्न तयार भएका थिए, ती जहाजमा झन्डै ४ सय यात्रु थिए । ‘तर पोखरामा भिजिबिलिटी ३५ सयबाट घटेर ३ हजारमा झरेको खबर आयो,’ एटीआर विमानका प्रशिक्षक पाइलटसमेत रहेका ती क्याप्टेनले भने, ‘टावरबाट त्यो खबर आउनासाथ पोखरा उड्न तयार भएका ६ वटै जहाजका उडान रद्द भए ।’ उडान रद्द भए पनि वायुसेवा कम्पनीले सबै यात्रुलाई अनबोर्ड गरे ।
पोखरा विमानस्थलको हवाई सुरक्षा प्रमुख इमानाथ अधिकारीका अनुसार, छिमेकी जिल्ला स्याङ्जा, तनहँॅ, पर्वत, म्याग्दीका जंगलमा लागेको डढेलोको धूवाँले पोखरा र आसपासको वायुमण्डल ढाकेको छ । ‘हामी हरेक दिन विमानस्थलको टावरमा पुग्छौं तर मौसममा सुधार नभएकाले जहाज आउँदैन, फर्किन्छौं,’ एटीसी अधिकारीले भने । उनका अनुसार, तीव्र बेगको हावा नचल्दा तुवाँलोका कारण नजिकैका पहाड र डाँडा ढाकिएका छन् । ‘अहिले धेरै ठाउँमा बिजुली, सडक बिस्तारको काम पनि भइरहेको आकाशबाट देखिन्छ । अनि पहाडमा डोजरले खनेकाले सडकको धूलो पनि गाडी गुड्दा उड्ने गर्छ । वनमा लागेको डढेलोको धूवाँसँग मिसिन्छ,’ ती क्याप्टेनले भने । उनका अनुसार, तराईका आकाशमा भने तीव्र बेगमा हावा चलेकाले त्यहाँको धूवाँ र धूलो चुरेफेदी हँॅदै मध्यपहाडतर्फ पसेको जहाजबाट देखिन्छ ।
पोखरामा बसेर हवाई यातायात क्षेत्रमा ३३ वर्ष बिताइसकेका गौतम बरालले तुवाँलोका कारण उडान ठप्प भएको घटना पोखराका लागि नौलो भएको बताए । ‘म २०४७ देखि पोखरा विमानस्थलमा हवाई सेवामा जोडिएको हुँ, यसअघि यसरी तुवाँलोकै कारण दुई दिनसम्म उडान नै ठप्प भएको कहिल्यै न देखियो न सुनियो । यो पहिलो पटक हो,’ बरालले भने, ‘अहिले पोखरामा जहाज नउडेका कारण माइक्रो, पर्यटक बस मात्रै होइन लोकल बस पनि खचाखच भरिएर काठमाडौं गइरहेका छन् ।’ नागरिक उडानमा मध्यपहाडका विमानस्थलमध्ये पोखरा सबैभन्दा ब्यस्त मानिन्छ । पोखरामा दुईटा विमानस्थल एकसाथ सञ्चालनमा छन् । क्षेत्रीय विमानस्थल र पुरानो विमानस्थल । पुरानो विमानस्थलबाट हिमाली जिल्ला जोमसोम, मनाङका लागि नियमित तथा चार्टर गरी दैनिक १० उडान हुन्छन् । त्यहीँबाट हेलिकोप्टर र अल्ट्रालाइटका उडान पनि हुन्छन् । यता अन्तर्राष्ट्रिय उडानका लागि एक वर्षअघिबाट सञ्चालनमा ल्याइएको नयाँ विमानस्थलबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्जका लागि दुईतर्फी गरेर दैनिक ६० हाराहारी उडान हुन्छन् ।

Page 2
म्यागेजिन

रुस्दीको “नाइफ”

- बुद्धिसागर मरासिनी

(काठमाडौं)
उपन्यास लेखेकै कारण इरान सरकारले टाउकाको मूल्य तोकेपछि विश्वप्रसिद्ध लेखक सलमान रुस्दी वर्षौंसम्म लुकेर बसे । एक दशकभन्दा लामो समयको विरक्त जीवनबाट अघाएका रुस्दीलाई एक दिन लाग्यो, ‘ओहो ∕ मैले त मेरो आफ्नै जीवन पो बाँच्नुपर्छ ।’ त्यसलगत्तै उनको दैनिकी फेरियो । बिस्तारै सामाजिक गतिविधिमा सक्रिय हुन थाले । अनि, देखिन थाले साहित्यिक कार्यक्रममा निर्धक्क र कुनै सुरक्षाबिना नै । २०२२ अगस्ट १२ को
दिन भने रुस्दीको जीवनमा निकै भयानक भएर आयो, एक छटपटाहटपूर्ण सपनाजस्तो ।
अमेरिको न्युयोर्क सहरमा आयोजित एक साहित्यिक कार्यक्रममा बोल्नका लागि स्टेजमा उभिएका थिए रुस्दी । राल्फ हेनरी रिजसँग हुने एउटा अन्तरसंवादका लागि कार्यक्रममा पुगेका थिए उनी । तर संवाद हुनुअघि नै रुस्दीमाथि भयानक आक्रमण भयो । अमेरिकाको न्युजर्सीका २४ वर्षीय हादी मतारले हत्या गर्ने उद्देश्यले रुस्दीको पेट र घाँटीमा कम्तीमा एक दर्जन पटक चक्कु प्रहार गरे ।
आक्रमणपछि रुस्दी तत्कालै भुइँमा ढले । कार्यक्रममा उपस्थित मानिसहरू मञ्चमा पुगेर उठाएपछि उनलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पताल पुर्‍याइयो । सात घण्टा लामो शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थाबारे सूचना सार्वजनिक गरियो । ‘खबर राम्रो छैन । सलमानले एउटा आँखा गुमाउन सक्ने चिकित्सकले बताएका छन्,’ रुस्दीका एजेन्ट एन्ड्रिउ वाइलले भनेका थिए, ‘पाखुराका नसा काटिएका छन् र चक्कु प्रहारबाट कलेजोमा क्षति पुगेको छ ।’
उपचारका क्रममा अस्पतालमा १८ दिन र रिहाबमा तीन साता बिताए रुस्दीले । त्यतिबेला एक शल्यचिकित्सकले रुस्दीलाई भनेका थिए, ‘तपाईं वास्तवमा भाग्यमानी पनि हो र अभागी पनि ।’ त्यतिबेला रुस्दीले सोधे– भाग्यमानी कुन अर्थमा ? ‘तपार्इंलाई आक्रमण गर्ने व्यक्तिलाई चक्कु प्रहार गरेर मानिसलाई कसरी मार्ने भन्ने थाहा थिएन ।
चिकित्सकले भनेजस्तै भाग्यमानी भएका कारण रुस्दीले पुनर्जीवन पाए । तर विडम्बना ∕ अमेट घाउ बोक्न बाध्य भए । चक्कु आक्रमणमा कलेजोमा गहिरो चोट लागेका कारण उनले दायाँ आँखाको ज्योति गुमाए । उनको एउटा हात केही काम गर्न सक्ने अवस्थामा रहेन । आक्रमणलगत्तै प्रहरीले नियन्त्रणमा लिएका मतारलाई दोस्रो तहको हत्या अभियोग लगाइएको छ । पुनर्जीवन पाएपछि रुस्दीले २०२३ मा पहिलो उपन्यास बजारमा ल्याए, ‘भिक्ट्री सिटी’ । यद्यपि, उक्त पुस्तक लेखनका लागि उनले पहिलेदेखि नै तयारी गरिरहेका थिए । उक्त पुस्तकमा रुस्दीले १४ औं शताब्दीमा एक सहरमा शासन गर्ने र पितृसत्तात्मक समाजलाई चुनौती दिने महिलाको कथा लेखेका छन् ।
जीवन नै खतरामा पार्ने २०२२ को आक्रमणका विषयमा भने रुस्दीले हालै एक पुस्तक बजारमा ल्याएका छन् । र, यसको नाम हो, ‘नाइफ ः मेडिटेसन्स् आफ्टर एन एटेम्प्टेड मर्डर’ । पुस्तकमा रुस्दीले आफूमाथिको चक्कु आक्रमण र त्यसपछि गुजार्नु परेका कठिन दिनको विस्तृत विवरण उतारेका छन् । खासमा यो त्यतिमा मात्रै सीमित छैन । यसमा उनले आफ्नो
जीवनबारे लेखका छन् । आफ्नो विवाह र सन्तानका विषय उठाएका छन् । र, यसमा मृत्युको मुखबाट बाँचेका रुस्दीको जीवनको नयाँ संस्करणबारे उल्लेख छ ।
रुस्दीले पुस्तकका ३० पानामा आफू र आक्रमणकारीबीच भएको संवाद उल्लेख गरेका छन् । कल्पना गरेर तयार पारिएको उक्त संवाद पुस्तकको सबैभन्दा रमाइलो अंश भएको रुस्दी बताउँछन् । पुस्तकमा उनले चक्कु प्रहार गर्ने मातरको नाम भने लेखेका छैनन् । आक्रमणकारीलाई उनले ‘ए’ भनेर उल्लेख गरेका छन् ।
‘त्यो मात्र २४ वर्षको व्यक्ति हो । उसलाई थाहा हुनुपर्थ्यो कि उसले आफ्नो र मेरो पनि जीवन बर्बाद गर्न गइरहेको छ । तर पनि ऊ हत्या गर्न तयार थियो,’ रुस्दी भन्छन्, ‘ऊ कुनै आपराधिक पूष्ठभूमि नभएको व्यक्ति हो र कुनै प्रकारको आतंकवादी निगरानी सूचीमा पनि थिएन ।’
‘खासमा मलाई ती व्यक्ति (आक्रमणकारी) सँग भेट्न र केही प्रश्न सोध्न मन थियो,’ रुस्दीले गार्डियनसँगको अन्तर्वार्तामा भनेका छन् । तर पेरिसको चक्कु आक्रमणको घटनाबारे अध्ययन गरेपछि आफ्नो सोच बदलिएको रुस्दी बताउँछन् ।
उक्त मुद्दाको सुनुवाइको अन्त्यमा घटनाका पीडित स्यामुयल बेक्केटले ‘मलाई किन चक्कु प्रहार गरेको’ भनेर आक्रमणकारीलाई सोधेका थिए । तर त्यसको जवाफमा आक्रमणकारीबाट उनले पाएको जवाफ थियो, ‘मलाई थाहा छैन । तर मलाई माफ गरिदिनूस् ।’ त्यसपछि भने आफूले कल्पना गरेर संवाद लेख्नु नै उचित हुने ठानेको रुस्दीको भनाइ छ ।
आक्रमणकारी मतारले जेलबाटै अमेरिकी अखबार न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिएका थिए । त्यसमा उनले ‘रुस्दी इस्लामलाई आक्रमण गर्ने व्यक्ति भएको’ दाबी गरेका थिए । मातरले ‘रुस्दी आक्रमणपछि पनि बाँच्न सफल भएकामा आफूलाई आश्चर्य लागेको’ बताएका थिए ।
साहित्यिक लेखनमा करिब पाँच दशक लामो अनुभव छ रुस्दीसँग । १९४७ जुन १९ मा भारतको बम्बे (हाल मुम्बई) मा कश्मीरी मुस्लिम परिवारमा जन्मिएका हुन् उनी । अध्ययनका लागि १९६४ मा बेलायत पुगेका अहमद सलमान रुस्दी पछि उतैको नागरिक बने । बेलायती नागरिक बनेपछि उनले मुस्लिम धर्मका संस्कार त्याग्दै गए । विज्ञापनसम्बन्धी काम गरेका रुस्दीले केही समय अभियनमा पनि बिताए । तर अभिनय क्षेत्रमा खासै नजमेपछि उनी साहित्यतिर लागे ।
१९७५ मा पहिलो पुस्तक ‘ग्रिमस’ बजारमा ल्याए । तर पुस्तकले सोचेअनुसार सफलता पाएन । तर पनि उनी आलोचकका नजरमा ‘सम्भावना बोकेका लेखक’ का रूपमा भने दरिए । पहिलो पुस्तक लेखेको ६ वर्षपछि उनको दोस्रो कृति ‘मिडनाइट्स चिल्ड्रेन’ बजारमा आयो । यसले उनलाई पहिलो पुस्तकको असफलता मात्र बिर्साइदिएन, बुकर पुरस्कार पनि जित्यो । रुस्दीले पाँच वर्ष लगाएर तयार पारेको पुस्तक त्यतिबेला बेलायतमा मात्रै १० लाख प्रतिभन्दा बढी बिक्री भएको थियो । सन् १९८८ मा ‘द सटानिक भर्सेस’ लेखेपछि भने उनको जीवनले नयाँ मोड लियो । पुस्तकमा ईश्वर निन्दा गरेको भन्दै उनलाई इस्लाम धर्मसँग सम्बन्धित कैयौं व्यक्तिले ज्यान मार्ने धम्की दिए । जसका कारण रुस्दीको दैनिकी फेरियो ।
पुस्तकले इस्लाम धर्मको अनादर गरेको भन्दै विश्वभर नै हंगामा भयो । विवाद र आक्रोश बढ्दै गएपछि ज्यान जोगाउन उनी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भए । बेलायत सरकारले रुस्दीलाई प्रहरी सुरक्षा घेराभित्र राख्न थाल्यो । तर पुस्तकमाथिको विवाद चर्किंदै गएपछि ‘साहित्यिक विश्व’ नै दुई धारमा विभाजितजस्तै देखियो । रुस्दीविरुद्ध उभिएको मुस्लिम विश्वले लेखक र पुस्तकप्रति कडा प्रतिक्रिया दिन थाल्यो । यद्यपि, पश्चिमा मुलुक भने रुस्दीको पक्षमा देखिए । पश्चिमा देशका लेखक तथा बौद्धिक वर्गले मुस्लिम कट्टरपन्थीले रुस्दीलाई दिएको धम्की अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरा भन्दै विरोध गरिरहे । उपन्यास अति यथार्थवादी र उत्तरआधुनिक भएको तथा यसले ईश्वर–निन्दा नगरेको उनीहरूको दाबी थियो ।
रुस्दीको जीवन नै खतरामा पार्ने पुस्तक ‘द सटानिक भर्सेस’ १९८८ को सेप्टेम्बरमा छापिएको हो । पुस्तकमा उठाइएको विषयवस्तु धर्मविरोधी रहेको भन्दै मुस्लिम समुदायले आपत्ति जनायो । फलस्वरूप रुस्दीको जन्मदेश भारतले नै पहिलो पटक पुस्तकमाथि प्रतिबन्ध लगायो । त्यसपछि पाकिस्तानलगायत विभिन्न मुस्लिम देश तथा दक्षिण अफ्रिकाले पनि प्रतिबन्ध लगाए ।
तर, पश्चिमा देशहरूमा उपन्यासको निकै प्रशंसा भयो र
ह्विटब्रेड पुरस्कार प्राप्त गर्‍यो । त्यसले झन् मुस्लिम समुदायलाई आक्रोशित बनायो र सडक प्रदर्शन हुन थाले । मुस्लिम धर्मगुरुहरूले त्यसलाई ‘इस्लामको अपमान’ का रूपमा व्याख्या गर्न थाले । उनीहरूले पुस्तकमा उल्लेख गरिएका कैयौं विषयवस्तुमा आपत्ति जनाएका थिए ।
पुस्तकमा यौनकर्मीका रूपमा चित्रित दुई पात्रको नाम इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका दुई श्रीमतीको नामसँग मिलेपछि मुस्लिम समुदाय निकै आक्रोशित बनेको थियो । त्यस्तै, मोहम्मदले कुरानमा राक्षसबाट प्रभावित भएको ठानेर हटाएका दुई सन्दर्भ (भर्सेस) सँग पुस्तकको नाम जोडिएका कारण पनि यसले विरोध र आक्रोश निम्त्याएको थियो ।
पुस्तक प्रकाशन भएको अर्को वर्ष सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले रुस्दीको हत्या गर्न फतवा नै जारी गरे । फतवामा पुस्तक प्रकाशनमा संलग्न सबैको हत्या गर्न भनिएको थियो भने रुस्दीको हत्यामा संलग्नलाई पुरस्कृत गर्ने उल्लेख थियो । खोमेनीले रुस्दीको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोके । पुस्तकका कारण पश्चिमा देश र इरानबीचको कूटनीतिक सम्बन्धमा समेत तनाव उत्पन्न भयो । इरानको राजधानी तेहरानस्थित बेलायती दूतावासमा आक्रमणहरू भए । बेलायत र केही मुस्लिम नेताले त्यसलाई परिमार्जन गर्न आग्रह गरे । अमेरिका, फ्रान्स र अन्य पश्चिमा देशले रुस्दीलाई दिइएको हत्याको
धम्कीको निन्दा गरे । केहीले भने इरानी सर्वोच्च नेता रुहोल्लाहलाई समर्थन गरे ।
सन् १९८९ जनवरीमा बेलायतको ब्राडफर्डमा मुस्लिमहरूले विरोध जनाउँदै पुस्तकको एक प्रति जलाए । त्यसको केही महिनामा रुस्दीको विरोधमा भएका प्रदर्शनमा केही मानिसको ज्यान गयो । पुस्तक प्रकाशक भाइकिङ पङ्गुइनको लन्डनस्थित कार्यालयमा मुस्लिमहरूले धर्ना दिए भने न्युयोर्क कार्यालयमा हत्याको धम्की पठाए । तर पुस्तक भने दुवै देशमा ‘बेस्टसेलर’ बन्यो । युरोपेली आर्थिक समुदाय (ईईसी) मा आबद्ध देशले अतिवादी मुस्लिमले दिएको प्रतिक्रियाको विरोधमा भएका प्रदर्शनलाई समर्थन गरे र अस्थायी रूपमा तेहरानबाट राजदूतहरूसमेत फिर्ता बोलाए ।
श्रीमतीसहित लुकेर बसेका रुस्दीले त्यसबेलासम्म मुस्लिम समुदायमाथि परेको चोटका लागि भन्दै गहिरो क्षमायाचना गरे । रुस्दीले ईश्वर निन्दाका अभियोग अस्वीकार गर्दै आएका छन् । आफ्नो उपन्यासले मुख्य रूपमा आप्रवासी अनुभव केलाएको रुस्दीको दाबी छ । तर इरानी नेता खोमेनीले रुस्दीको हत्याको आह्वान जारी नै राखे ।
सन् १९८९ को फेब्रुअरीमा रुस्दीविरुद्ध मुस्लिमहरूले मुम्बईमा ठूलो विरोध प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १२ जनाको ज्यान गयो । तीन दर्जनभन्दा बढी घाइते भए । त्यस्तै, भारत प्रशासित कश्मीरमा पुस्तकको विरोधमा गरिएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा ३ जनाको मृत्यु भएको थियो । कम्तीमा एक सय जना घाइते भएका थिए ।
पाकिस्तानको इस्लामाबादस्थित अमेरिकी सूचना केन्द्रबाहिर चर्केको हिंसामा ६ जनाले ज्यान गुमाएका थिए । घटनामा ८३ जना घाइते भए । १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खोमेनीले रुस्दीको हत्याको आह्वान गर्दा दिल्लीको जामा मस्जिदका शाही इमाम अब्दुल्ला बुखारीले पनि उनलाई समर्थन गरेका थिए । पछि सन् २००४ मा मुम्बई आउँदा पनि मुस्लिमहरूले रुस्दीको चर्को विरोध गरेका थिए ।
‘द सटानिक भर्सेस’ को विषयवस्तुका कारण लेखक रुस्दीले मात्रै धम्कीको सामना गर्नुपरेन, पुस्तकका जापानी अनुवादक हितोसी इगारसी युनिभर्सिटी नर्थ इस्ट अफ टोकियोमा १९९१ को जुलाईमा मृत फेला परे । संस्कृति विषयका सहायक प्राध्यापक हितोसीलाई कैयौं पटक छुरा प्रहार गरेर छाडिएको थियो । १९९१ मै इटालीका अनुवादक इटोरे क्रपिओलोलाई पनि छुरा प्रहार गरियो । तर उनी ज्यान जोगाउन सफल भए ।
चार पटक विवाह गरेका रुस्दीका दुई सन्तान छन् । उनी २००० यता अमेरिकामा बस्दै आएका छन् । रुस्दीले साहित्य सेवाका लागि बेलायती महारानीबाट दिइने उच्च नाइट उपाधि पाइसकेका छन् । २००७ मा नाइट उपाधि दिएका बेला पनि पाकिस्तान र इरानमा विरोध प्रदर्शन भएका थिए ।
‘द सटानिक भर्सेस’ प्रकाशनपछि जारी भएको फतवा र विवादलाई केन्द्रमा राखेर उनले ‘जोसेफ एन्टोन’ शीर्षकमा संस्मरणसमेत लेखेका छन् । ‘मिडनाइट चिल्ड्रेन’मा भारतीय कथावस्तु उठाएका रुस्दीले तेस्रो उपन्यास ‘सेम’मा पाकिस्तानबारे लेखे । रुस्दीका ‘हरुन एन्ड द सी अफ स्टोरिज’, ‘द मुअर्स लास्ट साई’, ‘द ग्राउन्ड बिनिथ हर फिट’, ‘फ्युरी’, ‘सालिमार द क्लाउन’, ‘द इन्च्यान्ट्रेस अफ
फ्लोरेन्स’, ‘टु इअर्स एट मन्थ्स एन्ड ट्वेन्टी एट नाइट्स’, ‘द गोल्डेन हाउस’, ‘किचोट’ लगायतका कृति प्रकाशित छन् ।
(एजेन्सीहरूको सहयोगमा)

 

Page 3
समाचार

इलाम : एमालेको विरासत

- पर्वत पोर्तेल,लक्ष्मी गौतम

(इलाम)
इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत मात्र पाए । २०७९ को निर्वाचनमा खड्का एमालेकै सुवास नेम्वाङसँग १ सय १४ को झिनो मतान्तरमा पराजित भएका थिए । यस पटक सुवास–पुत्र सुहाङले खड्कासँगको मतान्तरलाई ५ हजार ८ सय ३० ले बढाएका हुन् ।
कोशीमा प्रदेश नामकरणलाई लिएर पछिल्लो समय पहिचानवादी समूह आन्दोलनरत छ । सोही शक्ति समूहको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ को सम्मानजनक मतसहित तेस्रो स्थानमा आए । विगतमा शिक्षण पेसामा आबद्ध थेगिम हाल प्रदेश पुनः नामांकन संघर्ष समितिका संयोजक पनि हुन् । निर्वाचनअघि निकै चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । चौथो स्थानमा आएका उनले ५ हजार ५० मत मात्र पाए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए ।
निर्वाचन कार्यालय इलामका अनुसार इलाम–२ मा फाकफोकथुमका ७, चुलाचुली र माङसेवुङका ६/६, माई नगरका ३, देउमाईका ९ र इलाम नगरको वडा १० बाहेकका ११ वटा वडा सम्मिलित छन् । तीन दशकदेखि लगातार जित्दै आएको यस क्षेत्रमा सुहाङको जितले एमालेको विरासतलाई जोगाइदिएको छ ।
इलाम–२ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका १६ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ १२ दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार थिए । इलाम–२ मा रास्वपा उम्मेदवार लिम्बूसहित एकीकृत समाजवादीका जितबहादुर राई, राप्रपाका लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूसहित १६ जनाको जमानत जफत भएको हो । कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेको यो क्षेत्रमा ६९ हजार ३ सय ७४ मत खसेको थियो । ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार जमानत जोगाउन पनि कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका लिम्बूलाई जमानत जोगाउन पनि १ हजार ७ सय ९७ मत अपुग भएको हो । त्यस्तै मंगोल नेसनलका मनीबहादुरले ८ सय १६ मत ल्याए भने एसका जितबहादुरले ४ सय ८ मत ल्याउँदा राप्रपाका लक्ष्मीले मात्र ४ सय ४ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ ।

समाचार

'बुबाले देखाएको बाटोमा निष्ठापूर्वक हिँड्ने छु’

- कान्तिपुर संवाददाता

पूर्वसभाभुख एवं संविधानसभा अध्यक्ष तथा एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको गत वर्ष भदौ २७ मा हृदयाघातका कारण निधन भएपछि इलाम–२ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि गत बिहीबार उपनिर्वाचन भएको हो । जसमा नेम्वाङ पुत्र सुहाङले नै मंगलबार जित निकाल्दै एमालेको प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । ३३ वर्षीय सुहाङले संघीय संसद्को यात्रा थाल्दै बुबाको राजनीतिक विरासत थामेका छन् । उपनिर्वाचन र नतिजामा केन्द्रित भई कान्तिपुरले गरेको संक्षिप्त कुराकानी ः

आफ्नो जितलाई कसरी लिनुहुन्छ ?
यसलाई ठूलो अवसरसँगै जिम्मेवारीको रूपमा लिएको छु । इलामेली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीले विश्वास गरेर मलाई जिताउनुभएको छ । मप्रतिको विश्वासलाई घात गर्ने छैन । उहाँहरूका तमाम समस्या समाधानमा म अबका तीन वर्ष सक्रिय बन्नेछु । खासगरी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनतिर हाम्रो ध्यान रहनेछ । कृषिमा उत्पादन, सहयोग र बजारीकरण र मूल्य निर्धारणका विषयमा हामी गम्भीर छौं । समस्या समाधानका लागि नीति निर्माणसँगै व्यवस्थित बजारीकरणका लागि पहल गर्नेछु । इलामको पर्यटनमा मेरो विशेष जोड रहनेछ ।

इलाममा बाटोघाटोको अवस्था दयनीय देखियो । यसको निराकरणका लागि तपार्इंको योजना कस्तो छ ?
विकासका आधारहरूमध्ये मुख्य कुरा बाटोघाटो नै हो । बजेट नआउने पनि हैन । ठेक्कामार्फत काम अघि बढेको पनि थियो । तर, कतिपय काम प्राविधिक कारण या लापरबाहीले पूर्णता नपाएको देखियो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रका लागि बाटो नै आवश्यक पर्छ । तसर्थ बाटोघाटो र पूर्वाधार विकासलाई म प्राथमिकतामा राख्नेछु । सांसद भएका नाताले बजेट ल्याउने मात्रै हैन, कार्यान्वयन भयो कि भएन अनुगमन पनि गर्नेछु ।

तपाईं नीति बनाउन केन्द्रित हुनुहुन्छ कि,
विकास निर्माणमा ?
सांसदका हैसियतमा नीति निर्माण मुख्य काम हो । सँगै आफ्नो क्षेत्रको विकासमा पनि ध्यान दिनेछु । जनताका अपेक्षा पूरा गर्ने जिम्मेवारी पनि सँगै निर्वाह गर्नेछु ।

जितको आधार के हो ?
एमालेसँगै इलामेलीको विरासत नै मेरो जितको मूल आधार हो । हाम्रो संगठन विगतदेखि नै बलियो थियो । त्यसमाथि माओवादी, विप्लव समूह,
नेपाल परिवार दलसँगको सहकार्यले मेरो जित निश्चित भयो ।

यो खुसीको क्षणमा बुबालाई कसरी सम्झिनुहुन्छ ?
अघिल्लो वर्ष विजय र्‍यालीपछिको सभामा बुबा र म सँगै थियौँ । उहाँले मेरो काँधमा हात राखेर विजय सभालाई सम्बोधन गर्नुभएको थियो । ४२ वडा घुमेका थियौं । त्यो सबै कुरा अहिले झलझली याद आउँछ । मेरो बुबा मात्रै हैन, अभिन्न मित्र पनि हुनुहुन्थ्यो । उहाँ जहिल्यै राजनीतिमा कानुन र न्याय कहिल्यै छाडेर हिँड्नुहुन्न भन्नुहुन्थ्यो ।
उहाँले देखाएको यो बाटोमा इमानदारिता र निष्ठापूर्वक हिँड्नेछु ।

राजनीतिमा आउन तपाईंको पनि चाहना थियो कि बुबाका लागि मात्र ?
बुबालाई म राजनीतिमा आउँछु भन्ने विश्वास मात्रै थियो । तर, आउनै पर्छ भन्ने उहाँको दबाब रहेन । मैले कानुन पढ्दा बुबा खुसी हुनुहुन्थ्यो । पछि वकालत गर्न थालेँ, कानुनी परामर्श केन्द्र खोलेर प्राक्टिस पनि सुरु गरेँ । त्यसो त हामी समसामयिक राजनीतिबारे बाक्लै छलफल गर्थ्यौँ । खासगरी राजनीतिका नकारात्मक पक्षलाई कसरी सुधार्न सकिन्छ भन्ने सुझाव म बुबालाई दिन्थेँ । उहाँले पनि वकालतबारे मलाई सल्लाह दिनुहुन्थ्यो । त्यो बखत उहाँलाई लागेको हुनुपर्छ छोरो राजनीतितिरै आओस् भन्ने । पारिवारिक हुर्काइ बढाइले पनि मलाई राजनीतिप्रति मोह त जगाएकै थियो । सँगै राजनीतिक चेतना बढ्दै जाँदा राजनीतिमा लाग्छु भन्ने हुटहुटी पनि हुँदै गयो ।

जितको श्रेय कसलाई दिनुहुन्छ ?
पहिलो श्रेय, इलाममा मेरा बुबा र एमाले संगठनलाई विश्वास गर्ने तमाम आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई जान्छ । दोस्रो श्रेय, हाम्रो संगठनलाई जान्छ । पार्टीका नेतादेखि कार्यकर्ताहरूलाई जान्छ । जसले मत मात्रै हाल्नुभएन, अहोरात्र खटेर मलाई जिताउन महत्त्वपूर्ण सहयोग गर्नुभयो ।

समाचार

हुरीसँगै फैलिएको आगोले बस्ती सखाप

- अवधेशकुमार झा

(चिमटी, सप्तरी)
सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीका चन्दर यादवले सोमबारमात्रै बुहारी भित्र्याएका थिए । मंगलबार दिउँसो छोराको बिहेभोजको माहोल थियो । पाहुनाले घर भरिभराउ थियो । अचानक छिमेकीको घरबाट आगो सल्केपछि सबै ज्यान जोगाउँदै भागे । घरसहित सरसामान जलिइरहँदा हेर्नुबाहेक केही गर्न सकेनन् ।
‘दिउँसो कोही खेतमा त कोही अन्यत्र गएका थिए, घरमा भएकाहरू पनि कोही सुतेका थिए, अचानक आगलागी भयो,’ आगलागीमा दुईवटा घर गुमाएका महादेवा–१ का सोमिन्दर सदाले भने, ‘तीव्र हावाका कारण अचानक बस्तीभरि आगो सल्केपछि ज्यान जोगाउन पनि मुस्किल पर्‍यो ।’ चिमटीमा मंगलबार आगलागीबाट ११० घर जलेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार
स्थानीय शत्रुधन यादवको घरबाट सल्केको आगो हावाले बस्तीभरि फैलाएको थियो ।
‘अत्यधिक गर्मी र तीव्र हावाका कारण एकछिनमै दुई टोल खरानी भयो,’ महादेवा–१ का वडाध्यक्ष जयकिशोर दासले भने, ‘घरबाट कसैले पनि केही निकाल्न सकेनन् ।’ बस्तीको पश्चिम दक्षिण कुनाबाट सल्केको आगो पूर्वतर्फ रहेको अर्को बस्तीमा पनि सरेको थियो । आगलागीका कारण भने खुल्न सकेको छैन् । ‘वारुणयन्त्र आउँदासम्म बस्ती खरानी भइसकेको थियो,’ वडाध्यक्ष दासले भने ।
मंगलबार राति अबेरसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा लिने काम जारी रहेकाले क्षतिको सबै विवरण यकिन गर्न नसकिएको उनले बताए । ‘प्रारम्भिक रूपमा ११० घर जलेको हामीले लगत संकलन गरेका छौं, अझै आगो निभाउने कार्यमै जुटेकाले पूर्ण विवरण संकलन गर्न सकिएको छैन,’ उनले भने । आगलागीमा यादव र मुसहर टोलका घर जलेर नष्ट भएका छन् ।
आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । उनले स्थानीय पालिका, रेडक्रस र प्रशासनको समन्वयमा पीडित परिवारलाई तत्कालीन व्यवस्थापन गर्ने प्रयास भइरहेको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले आगलागीबाट प्रभावित परिवारलाई राहतको प्रयास भइरहेको बताए ।

समाचार

उद्धार गरिएका बाघलाई राख्न र खुवाउनै मुस्किल

- रमेशकुमार पौडेल,दीपेन्द्र बडुवाल,मनोज पौडेल

(चितवन/बर्दिया)
बर्दियालगायत तराईका राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा समस्याग्रस्त बाघ थपिने क्रम बर्सेनि बढ्दो छ । विभिन्न कारणले जंगलमा अस्तित्व रक्षा गर्न नसकेर विस्थापित भएका बाघद्वारा बस्ती पसेर बस्तुभाउ तथा मानिसको सिकार गर्नेक्रम बढेको छ । यसरी बस्तीमा आउने बाघलाई निकुञ्ज कार्यालयले उद्धार गरेर व्यवस्थापन केन्द्रमा राख्ने गरेको छ । केही समययता समस्याग्रस्त बाघले खोर भरिन थालेपछि आहारा पुर्‍याउनै मुस्किल पर्न थालेको निकुञ्ज कार्यालयले जनाएका छन् ।
‘समस्याग्रस्त बाघलाई खोरमा थुनेर मात्र हुँदैन, उचित स्याहारसुसार, सफाइ र उपचार पनि चाहिन्छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक आयुष महर्जन भन्छन्, ‘हामीले २४ सैं घण्टा सीसीटीभीबाट खाना खाए/नखाएको, स्वास्थ्यमा समस्या देखिए/नदेखिएको निगरानी गर्छौं ।’ बाघको स्वास्थ्यलाई लिएर हेरचाहमा खटिने कर्मचारी चनाखो हुनुपरेको उनले बताए । गत चैतसम्म पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेका तीनवटै बाघ मरे । २०७९ चैतदेखि २०८० भदौसम्म पर्साका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका ती बाघमध्ये एउटा असोजमा, बाँकी दुई फागुन र चैतमा मरेपछि संरक्षणकर्मी बीच खैलाबैला भयो । अहिले पर्सा निकुञ्जका बाघ राख्ने खोर खाली छन् । ‘पछिल्लो बाघको गत चैत १६ मा मृत्यु हुनुभन्दा एक साताअघिसम्म स्वास्थ्य अवस्था सामान्य थियो,’ पर्सा निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले भने, ‘अन्तिम समयमा एन्टिबायोटिक मिश्रित आहारासमेत खान छाडेको थियो ।’ पोस्टमार्टम रिपोर्टमा उक्त बाघ हाइड्रोपेरीकार्डियम अर्थात् मुटुमा पानी जमेका कारण मरेको निकुञ्जले जनाएको छ ।
पर्सा निकुञ्जको खोरमा गत असोज २५ मा पहिलो बाघ मरेको थियो । उक्त बाघलाई एक स्थानीय मारेपछि पर्साको ठोरी गाउँपालिका–५ आठघरेस्थित मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो । निकुञ्जका अनुसार एकदमै दुब्लो र कमजोर उक्त बाघको अगाडिको पञ्जामा पनि चोट थियो । शरीरका घाउचोटमा संक्रमण फैलिएर बाघ मरेको सूचना अधिकारी भगतले बताए । उनका अनुसार संक्रमणका कारण बचाउन असम्भव जस्तै थियो । २०७९ चैत २२ मा ठोरी–४ बाट नियन्त्रणमा लिइएको बाघ पनि फागुन १४ मा मरेको थियो । १२ वटा बाख्रा र दुईवटा भैंसी मारेपछि नियन्त्रणमा लिइएको उक्त बाघको अनुहारमा गहिरो घाउ थियो । निकुञ्जका पशु चिकित्सकले एन्टिबायोटिक औषधि दिएपछि घाउमा सुधार देखिए पनि भित्रभित्रै संक्रमण फैलिएर उक्त बाघ मरेको निकुञ्ज प्रशासनले जनाएको छ । ‘त्यो बाघको शरीरको भित्री अवस्था के थियो पत्ता लगाउन सकिएन,’ पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने, ‘समस्या शरीरको भित्री भागमा रहेको तर हामीसँग पत्ता लगाउने औजार उपकरण नभएर बाहिरी चोटको उपचारमै केन्द्रित हुनुपर्ने बाध्यता छ ।’ वन्यजन्तुको रोगको भित्री कारण पत्ता लगाउने प्रविधि र उपचार सुविधा निकुञ्जमा नरहेकाले समस्या भइरहेको भगतले बताए ।
बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारास्थित व्यवस्थापन केन्द्रमा अहिले दुई वटा बाघ छन् । निकुञ्जअन्तर्गत रम्भापुर पोस्टस्थित व्यवस्थापन केन्द्रमा तीन बाघ संरक्षण गरिएको छ । ठाकुरबाबा नगरपालिकाको सैनावरबाट ढाड भाँचिएको अवस्थामा उद्धार गरिएको बाघ दुई महिनाअघि मर्‍यो । ‘एकैपटक समस्याग्रस्त बाघ ६ वटा पुग्लान् भन्ने सोचेका थिएनौं,’ बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत आशिष न्यौपानेले भने, ‘साना कोठामा ती बाघ राखिएको छ ।’ उनका अनुसार रम्भापुरमा केही व्यवस्थित खोर रहेको छ । त्यहाँ अहिले तीन बाघ छन् । बाघ थपिएमा समस्या हुने उनले बताए । ‘अहिले हामीसित भएका होल्डिङ केज हुन्,’ उनले भने, ‘यी उद्धार केन्द्र होइनन् । रेस्क्यु सेन्टर र होल्डिङ केजमा भिन्नता छ ।’ बाघलाई तत्काल नियन्त्रणमा लिएर अध्ययन गर्न बनाइएका ‘होल्डिङ केज’मा समस्याग्रस्त बाघ राख्नुपरेको उनले बताए । ‘जुनसुकै बेला यस्ता बाघको संख्या थपिन्छन्,’ उनले भने, ‘त्यसैले ठूलो उद्धार केन्द्र निर्माणबारे सोच्नुपर्छ ।’
यसरी संरक्षण गरिएका बाघलाई आहार व्यवस्थापनका लागि बजेट अभाव छ । माग गरिएको बजेट पनि संख्या थपिँदै गएपछि समस्या भएको न्यौपानेले बताए । अहिले विज्ञको सुझाव अनुसार एउटा बाघलाई एक दिन बिराएर ७ किलो मासु दिने गरिएको छ । ‘तीनवटा बाघका लागि आएको बजेटबाट ६ वटालाई मासु खुवाउनुपरेको छ,’ न्यौपानेले भने । यस्तो बजेट वन्यजन्तु उद्धार केन्द्र व्यवस्थापन शीर्षकमा आउने गरेको छ । एउटा बाघलाई आहार पुर्‍याउन वार्षिक झन्डै ५ लाख ३० हजार रुपैयाँ आवश्यक पर्छ । त्यसैगरी बाघका रेखदेखमा दुई जना कर्मचारी राखिएको छ । कामदारको पारिश्रमिकका लागि वार्षिक थप दुई लाख रुपैयाँ खाँचो पर्ने उनले बताए । जंगलमा ठूलो क्षेत्रमा रमाउने बाघ अहिले खोरमा थुनिनु पर्दा झन् समस्याग्रस्त हुने चिन्ता बढेको निकुञ्जले जनाएको छ ।
वन्यजन्तु उद्धार र उपचारमा काम गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाङफेले यस्ता बाघका लागि खुला ठाउँको अभाव भएको बताए । सानो खोरमा बस्नुपर्दा बाघमा समस्या देखिने उनको भनाइ छ । ‘नियमित सफाइ र उपचार भएन भने पनि बाघमा समस्या देखिन्छ,’ उनले भने, ‘जंगलमा एउटा क्षेत्र ओगटेर बस्ने बाघ खोरमा सीमित हुँदा समस्या देखिने गरेका हुन् ।’ जुम्बाहाङफे प्राकृतिक बासस्थानमा फर्काउन सम्भव नहुने भएकाले खुला र व्यवस्थित उद्धार केन्द्र बनाएर राख्नुपर्ने बताउँछन् । बर्दियामा यस्ता वन्यजन्तु व्यवस्थापनको संकट बढेको भन्दै उनले थपे, ‘व्यवस्थापनका लागि सरकार र साझेदार संस्थाले बजेट बढाउनुपर्छ ।’

Page 4
सम्पादकीय

लगानी सम्मेलनको अर्थपूर्ण सन्देश

वैदेशिक लगानी भित्र्याएर मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने ध्येयका साथ आयोजित दुईदिने लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा सहभागी ५५ देशका लगानीकर्ता तथा दातृ निकायका प्रतिनिधिसामु सरकारले लगानीका अवसरहरू प्रस्तुत गर्दै तिनमा चासो जगाउनु आफैंमा महत्त्वपूर्ण छ । सरकार र प्रतिपक्षले एकै स्वरमा लगानीको समग्र पारिस्थितिक प्रणालीमा सहजीकरण एवं सुरक्षा प्रत्याभूतिका लागि प्रतिबद्धता जनाउनु पनि अर्थपूर्ण छ । सम्मेलनको सम्मुखमै भए पनि केही कानुन संशोधनमार्फत सरकारले लगानीकर्तामाझ उत्साह सञ्चार गर्न सकेको छ । यस्ता पहलकदमीलाई परिणाममा रूपान्तरण गर्न सरकारले अझै मिहिनेत गर्नुपर्नेछ ।
शक्तिशाली भूकम्प र करिब ५ महिनाको नाकाबन्दीको असरबाट तंग्रिन नपाउँदै कोरोना महामारी सामना गर्नुपरेका कारण मुलुकको अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रलाई लयमा फर्काउन वैदेशिक लगानी जतिसक्दो बढी भित्र्याएर पूर्वाधार विकास गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना लगायतमार्फत आर्थिक गतिविधि बढाउनुपर्नेछ । त्यही सन्दर्भमा सरकारले दातृ निकाय तथा स्वदेशी र विदेशी लगानीकर्तालाई यहाँ लगानीमैत्री वातावरण रहेको विश्वास दिलाउन आइतबार र सोमबार सम्मेलन गरेको हो । सम्मेलनमा सरकारका तर्फबाट मात्र होइन, सत्तारूढ दल र विपक्षी दलका नेताले समेत सम्बोधन गर्दै निजी लगानीलाई प्रोत्साहन एवं सहजीकरण गर्ने प्रतिबद्धता गरेका छन् । एकातिर सरकार अस्थिर भइरहने, अर्कातिर राजनीतिक दलहरूको नीतिगत अलमलले संशय सिर्जना गरिरहेका बेला निजी लगानीप्रति प्रमुख राजनीतिक दलहरूले यसरी समान धारणा एवं प्रतिबद्धता व्यक्त गर्नु सुखद छ । यसले लगानीकर्तामा पक्कै सकारात्मक सन्देश प्रवाह गरेको हुनुपर्छ ।
लगानी सम्मेलन तयारीका मामिलामा सरकार आखिरी समयतिर हतारिएको देखियो । सरकारले लगानी सम्मेलन गर्ने निर्णय गत कात्तिकमै गरेको थियो । सम्मेलनमा लगानीकर्ताको विश्वास जित्न सरकारले केही कानुनी सुधार गर्नैपर्ने थियो । लगानीकर्ताले लामो समयदेखि नै केही ऐनका प्रावधानलाई बाधाका रूपमा औंल्याउँदै आएका थिए । तर संसदीय प्रक्रियाबाट कानुन संशोधन हुन सकेन । संसद्को अधिवेशन अन्त्यपछि सरकारले अध्यादेशमार्फत आठवटा ऐन संशोधन गरेको छ । अध्यादेशमार्फत भए पनि ऐन संशोधन गरिएकामा लगानीकर्ताले सकारात्मक मानेका छन् । तर अध्यादेश अस्थायी प्रकृतिको भएकाले आगामी संसद् अधिवेशनबाट ऐनमा सुधार गरेर लगानीकर्ताको थप विश्वास जित्न जरुरी छ । सरकारले दुई साताअघि ‘द्विपक्षीय लगानी सम्झौता’ को नमुना ढाँचा स्वीकृत गरी चासो दिने मुलुकसँग लगानी सम्झौताको बाटो खोलेको छ । लगानीका लागि इच्छुक मुलुकहरूले दोहोरो कर मुक्तिका विषयमा चासो राखिरहेका छन् । लगानी प्रवर्द्धनका लागि नेपालले पहिल्यै १० वटा मुलुकसँग दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता गरिसकेको छ । थप मुलुकले पनि चासो दिइरहेका बेला सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्छ । विदेशी मुद्रा विनिमयमा हुने उतारचढावबाट आउने जोखिम व्यवस्थापनका लागि ‘हेजिङ’ को नीतिगत व्यवस्था पनि हालसालै गरिएको छ । यसको कार्यान्वयनले तथा प्रक्रियागत काममा एकद्वार प्रणालीको प्रभावकारिताले पनि लगानी आकर्षित हुन सक्छ ।
लगानी सम्मेलनमा आशयपत्र मागिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) का ९ सहित १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाका हकमा ४५ दिन र गैरऊर्जा परियोजनामा ३५ दिन समय दिइएको छ । सम्मेलनका क्रममा केही परियोजनामा लगानी तथा सहकार्य सम्बन्धमा सम्झौता भएका छन् । सम्मेलनकै दौरान अपेक्षित रूपमा लगानी प्रतिबद्धता घोषणा हुन सकेन । तर सरकारले लगानी सुरक्षाको सुनिश्चित गराउन र लगानी फिर्ताका लागि सहज वातावरण मात्र तयार गर्न सक्यो भने वैदेशिक लगानी भित्रिने दर बढ्न सक्छ । निजी क्षेत्र स्वभावैले
आफ्नो लगानी सुरक्षा र प्रतिफल विश्लेषण नगरी अघि सर्दैन । उनीहरूका लागि अनुकूलता मिलाउँदा सरकारले राष्ट्रिय हितलाई भने भुल्नु हुँदैन ।
विगतमा भएका लगानी सम्मेलनको समीक्षाले पनि वैदेशिक लगानी अभिवृद्धिमा मद्दत पुर्‍याउन सक्छ । सन् २०१७ को लगानी सम्मेलनमा विभिन्न परियोजनामा १४ खर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएकामा करिब १४ प्रतिशत मात्र कार्यान्वयन हुन सक्यो । सन् २०१९ मा १५ खर्बको लगानी प्रतिबद्धता थियो, तर करिब ७ प्रतिशत मात्र कार्यान्वयन भयो । लगानीकर्तालाई प्रतिबद्ध बनाउनु जति महत्त्वपूर्ण हो, त्यति नै प्राथमिकता प्रतिबद्धताअनुरूप लगानी गराउन सक्नु पनि हो । विगतमा भएका कमजोरी केलाएर त्यसमा सुधार गर्नुपर्छ । लगानीकर्ताको प्रतिबद्धतापछि पनि नियमित ‘फलोअप’ जरुरी छ । विश्वास जित्दै गए वैदेशिक लगानी बढ्दै जान्छ, लगानी वृद्धिले मुलुकको अर्थतन्त्र मजबुत बनाउँछ ।

 

सम्पादकलाई चिठी

उपनिर्वाचनको सन्देश


प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१(क) मा भर्खरै सम्पन्न उपनिर्वाचनको मतपरिणाम हेर्दा आगामी आम निर्वाचनमा पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेकै बीच मुख्य प्रतिस्पर्धा देखिन्छ । २०७४ र २०७९ को निर्वाचनमा विभिन्न दलहरूको गठबन्धनका कारण कुन दलको कति क्षमता छ भनेर यथार्थ मूल्यांकन गर्न सक्ने अवस्था थिएन । यस उपनिर्वाचनमा मुख्य दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले उनीहरूबीच स्वच्छ प्रतिस्पर्धा भएको छ । यसले केही क्षेत्रीय दल र नयाँ भनिएका दलहरूको राजनीतिक भविष्य सुखद हुने देखिँदैन ।
उपनिर्वाचनमा भाग लिएका अधिकांश उम्मेदवारको जमानत जफत हुन पुगेको छ । राजनीतिक धरातल नै नभएकाहरूले बोलेकै आधारमा कतिन्जेल राजनीति गर्न सक्दा रहेछन् भन्ने प्रमाण बनेको छ यो उपनिर्वाचन । एउटा निर्वाचन लडेर प्रतिनिधिसभाको केही सिट जित्न सफल भएकै भरमा त्यसैमार्फत सत्ता दुरुपयोग गरी आफूले आम नागरिकमाथि गरेको शोषणलाई लुकाएर आफूले आफैंलाई निर्दोष सावित गराउँदा परिणाम कस्तो आउँदो रहेछ भन्ने पनि यसै उपनिर्वाचनले देखाएको छ । सत्ताको बलमा हौसिएर अरूमाथि तथानाम गाली गलौजमा उत्रने दलहरू निर्वाचनमा आफ्नो जमानतसमेत जोगाउन नसक्ने अवस्थामा पुगे । अब उनीहरूले जनतालाई के आश्वासन देलान् ? त्यस्ता दलहरूलाई क्यामरा समाएर टेलिभिजनमा बोलेको जस्तो सहज होइन रहेछ राजनीति भन्ने हेक्का भयो कि भएन ? राजनीतिमै नयाँ बनेर उदाएका दल हुन् या मूल पार्टीबाट अलग भएर बनेका नयाँ हुन् यी सबै दलले आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गरे आफ्नो अस्तित्व जोगाउन गाह्रो पर्नेछ । हुन त २०७९ मा सम्पन्न भएको निर्वाचनमा गठबन्धनबाटै निर्वाचनमा जाँदासमेत कुनै दलले राष्ट्रिय दलको मान्यता पाउन नसकेको उदाहरण छ । यो निर्वाचनको परिणामलाई ध्यानमा राखेर अब कांग्रेस र एमालेले आजैदेखि सहयात्रा सुरु गर्दा राम्रो हुन्छ । यी दुई दल मिल्दा अरू साना दलसँग सहकार्य गर्न जरुरी देखिँदैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

गत वर्षको निर्वाचनमा २० सिट जितेको रास्वपाले इलाम–२ मा भएको उपनिर्वाचनमा जमानत जोगाउन सकेन । रास्वपामा दम्भ धेरै बढेको थियो, जनताले सबक सिकाएका छन् । रास्वपाले यो मतपरिणामबाट केही सिक्छ कि फेरि त्यही रटान लगाउँछ, हेर्न बाँकी छ । इलाम–२ मा एमाले ५ हजारभन्दा बढी मतान्तरले विजयी भएको छ । बझाङमा भएको प्रदेशसभाको उपनिर्वाचनमा पनि एमालेले नै जित हात पारेको छ । उपनिर्वाचनको मतपरिणामले के देखायो भने देशमा प्रमुख राजनीतिक दल भनेकै एमाले र कांग्रेस मात्र हुन् । उपनिर्वाचनमा जनताको खासै उत्साह भने देखिएन । इलाममा ६० प्रतिशत र बझाङमा ५० प्रतिशत हाराहारी मत खस्यो । भोट हाल्न जनता किन तयार भएनन्, दलहरूले गम्भीर बनेर सोच्नुपर्छ ।
निर्वाचन प्रक्रियामा गएपछि हार–जित स्वाभाविक हो । गत वर्षको निर्वाचनामा रास्वपालाई जनताले किन रोजे भन्ने कुरा पार्टी नेतृत्वले बुझ्न सकेन । रास्वपा सभापति रवि लामिछाने आफैं सहकारीको रकम अपचलनमा फसेका छन् । उनले जति निर्दोष दाबी गरे पनि प्रमाणले उनलाई निर्दोष भनेको छैन । अरूलाई औंला ठड्याउनेले पहिला आफू ठीक हुनुपर्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

इलाम र बझाङको उपनिर्वाचनले कांग्रेसलाई गठबन्धन नगरी एक्लै चुनाव लडे हारिँदो रहेछ भन्ने सन्देश दिएको छ । एमालेलाई पनि माओवादीको साथ नरहेको भए इलाममा भारी पर्ने रहेछ भन्ने सन्देश दिएको छ । उता मिसन २०८४ मा एक्लै बहुमत ल्याएर सरकार बनाउँछु भनेर दाबी गर्ने रास्वपाको जमानत जफत गरेर इलामेली जनताले काम र कुरा फरक हुन्छन् भन्ने गतिलो पाठ पढाएका छन् । पहिचानवादीहरूलाई पनि तेस्रो स्थानमा राखेर जातीय राजनीति आम जनताले रुचाउँदैनन् भन्ने सन्देश दिएका छन् । उपनिर्वाचनमा सबैभन्दा ठूलो घाटा राजावादी पार्टी राप्रपालाई भएको छ । आन्दोलनको आँधीबेहरी ल्याएर नेपालमा राजतन्त्र पुनःस्थापना गराउँछु भन्ने राप्रपाले इलाम र बझाङमा १ प्रतिशत पनि मत पाएन । यो राप्रपाका लागि शर्मनाकको विषय हो । अब आन्दोलनमार्फत राजतन्त्र ल्याउँछौं भन्ने बालहठ राप्रपाले सधैंका लागि त्याग्नु नै श्रेयष्कर हुन्छ ।
इलाममा सुहाङ नेम्वाङप्रति सहानुभूति मत प्राप्त भयो तर बझाङमा कांग्रेसका उम्मेदवार जसको पिता पृथ्वीबहादुर सिंहको निधन भएकाले उपनिर्वाचन भएको थियो, उनले सहानुभूति मत पाएको देखिएन । बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी झिनो मतान्तरले विजयी भए । कांग्रेससँग माओवादी वा समाजवादीको गठबन्धन भएको भए एमाले पराजित हुने अवस्था त्यहाँ देखियो । यस संकेतले पनि २०८४ मा एमालेले बहुमत पाउन चाहन्छ भने निर्वाचनमा माओवादी वा समाजवादीसँग गठबन्धन गर्नैपर्ने देखियो । उता कांग्रेसले पनि आगामी दिनमा गठबन्धन नगरे पार्टी नराम्रोसँग हार्ने देखियो । हुन त दुवै ठाउँमा उम्मेदवार अर्कैलाई बनाउनुपर्ने भनी गगन थापा, शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवालाई भनेका थिए । तर देउवाले कसैको कुरा सुनेनन् । इलाममा डम्बर खड्काको साटो भेषराज आचार्यलाई टिकट दिनुपर्ने, होइन भने हारको जिम्मा सभापति देउवाले लिनुपर्ने चेतावनी पनि गगन–शेखरले दिएका थिए । दुवै हारको जिम्मा देउवाले लिनुपर्छ । देउवाको सोच विचार र नेतृत्व कांग्रेसलाई फापेको देखिएन । कांग्रेसलाई अगाडि बढाउने हो भने देउवाले सहज तरिकाले अब पार्टीको नेतृत्व गगन थापा र विश्वप्रकाश शर्मालाई सुम्पनपर्छ । ७० वर्षपारिका नेताहरू बिस्तारै किनारा लाग्दै जानुपर्छ । इलाममा धरानका मेयर हर्क साम्पाङ राईले कुल मतको ८० प्रतिशत मत पहिचानवादीलाई जान्छ भनेका थिए । तर त्यस्तो भएन । रास्वपाले मार खानुमा सहकारी प्रकरण पनि एउटा कारक तत्त्व हो । यसर्थ रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नै कार्यकालमा जीबी राईलाई नेपाल झिकाएर सहकारी समस्या समाधान गर्नुपर्छ । अन्यथा यही सहकारी प्रकरणले रास्वपालाई मिसन–८४ अफाप हुने निश्चित छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

दृष्टिकोण

राजनीतिक उद्यमीका सीमितता

- सीके लाल


अनौपचारिक छलफलको प्रमुख विषयले समाजमा व्याप्त समसामयिक मुद्दालाई प्रतिबिम्बित गर्ने रहेछ । प्रसंग २५ अप्रिल, २०२४ बिहीबारका दिन बौद्धको आलिसान होटलमा आयोजित बिहे भोजको हो । खानपानका क्रममा स–सानो समूहभित्र निम्तालुहरू गफमा रमाइरहेका थिए । काठमाडौंको वायु प्रदूषण, देशका सडकको खस्ता हालत, भ्रष्टाचारको फैलिँदो जालो एवं बढ्दो ट्राफिक जाम सहरीया मध्यमवर्गका लागि चिरस्थायी बातचितका विषय हुन् । सत्ताप्रति मतदाताको रुझान मापन गर्न सघाउन झन्डैझन्डै मध्यावधिसरह महत्त्व बोकेको इलामको उपनिर्वाचनमा काठमाडौंमा बसेर गन्थन–मन्थन गर्नेहरूले खासै रुचि राखेको देखिएन । बझाङ प्रदेशसभाको उपचुनाव त झन् टाढाको कुरा भयो । सामाजिक सञ्जालका प्रयोगकर्ताले भने राष्ट्रिय स्वतन्त्र पार्टीको सम्भाव्य राजनीतिक प्रदर्शनप्रति चाख राखेको बुझ्न कठिन थिएन । लामो समय विदेशमा बिताएर घर फर्केका एक वयस्कले हल्का छलफललाई गम्भीर बनाउँदै कुरा उप्क्याए– ‘इलाममा कसले जित्छ त ?’
सम्भवतः उनले सुन्न चाहेजस्तो उत्तर नपाएपछि पूरक प्रश्न गरे– ‘सुहाङ नेम्वाङ जित्ने पूर्वानुमानको आधार के हो ?’ हुन पनि पछिल्लो चुनावमा दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङभन्दा जम्माजम्मी ११४ मत कम पाएर निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बरबहादुर खड्का पुनः प्रतिस्पर्धामा थिए । प्रदेशको विवादित नामकरणले पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको छविलाई चिन्हांकित (हाइलाइट) गरिरहेको थियो । तात्कालिक चुनावी लाभको लोभमा पहिचानवादी खेमा परित्याग गरेर संघीयता र समावेशिताविरोधी राजनीतिकर्मीको दौराको फेरो समात्न पुगेका मिलन लिम्बूको प्रचारित सनसनी (हाइप) पनि कम थिएन । तर, कम्तीमा चार कारण एमालेका सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीले सिकारु राजनीतिकर्मी सुहाङलाई दिवंगत पिताको विरासतसँग प्रतिस्पर्धा गराउन चुनावी मैदानमा उतारेका थिए— नेपाली कांग्रेसलाई हराउने, माओवादीलाई कज्याउने, राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो क्षमता देखाउने र स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई एमालेको राजनीतिक अपरिहार्यता दर्शाउने । नौसिखुवा छोराले दिवंगत पिताका तुलनामा बढी मतान्तरले आफ्ना प्रतिस्पर्धीलाई पछारेका भए पनि त्यो उपलब्धि उनको नभएर एमालेका सर्वेसर्वा ओलीको हो । सुवासचन्द्र आफ्नै बलबुतामा चुनाव लड्थे । अहिलेको उपनिर्वाचनमा नाम सुहाङको भए पनि मैदानमा सर्वेसर्वा ओली स्वयं खडा थिए । कांग्रेस र माओवादीहरू मिलेर एमालेलाई परस्पर विरोधी जस्तो देखिने सत्ताविरोधी लहर (एन्टी इन्कम्बन्सी वेभ) र सरकारमा सहभागी हुनुको फाइदा एकसाथ उठाउन पाइने राजनीतिक रूपले लाभदायक स्थानमा पुर्‍याइदिएका छन् ।
पहिचानको जतिसुकै विरोध गरे पनि जनोत्तेजकता, अन्धराष्ट्रवाद, अन्यघृणा एवं नृजातीय तथा राष्ट्रवादी बहुसंख्यकवादले गर्दा एमालेको मताधार कमोवेश यथावत् छ । आफ्ना नेता पुष्पकमल दाहालका क्रियाकलापले निरुत्साहित हुँदै गएका भुइँतहका माओवादी कार्यकर्ता सर्वेसर्वा ओलीमा आफ्नो नयाँ तारणहार देख्न थालेका छन् । सन् १९९० पछि एकाएक सम्भ्रान्त बन्न पुगेको उच्च मध्यमवर्ग एमालेलाई राजनीतिक ओतका रूपमा स्वीकार गरेकाले ती ‘आफ्ना’ उम्मेदवारलाई स्रोतको कमी कहिले महसुस हुन दिँदैनन् । देशभित्र संगठित क्षेत्रको सबभन्दा ठूलो रोजगारदाता रहेको गैसस उद्यम एवं नाफा क्षेत्रका शैक्षिक संस्थामा अहिले पनि ओलीलाई राजा महेन्द्र सरहको ‘राष्ट्रवादी’ मान्नेहरूको हालीमुहाली कायम रहेकाले एक हाँकमा सडकमा कार्यकर्ता उतार्न सक्ने क्षमता एमालेसँग छ । पूर्वी नेपालको लगभग आफ्नो घरेलु मैदानमा ओली स्वयं सुहाङलाई अगाडि उभ्याएर चुनावी मैदानमा थिए । त्यस्ता जम्मै संरचनागत अग्रताका बाबजुद प्राप्त मामुली जितले सामान्य कार्यकर्तालाई जतिसुकै उत्साहित तुल्याए पनि ओलीलाई एमाले र कांग्रेसबीचको मतान्तरले सायद सन्तुष्ट गर्न सक्ने छैन ।
धर्मान्ध उच्चता एवं वंशानुगत विशिष्टतालाई राजनीतिक आस्था बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले नृजातीय बहुसंख्यकवादको मैदानमा एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन । भविष्यमा पाइन सक्ने भौतिक लाभहानिको तार्किक लेखाजोखा देखाउनुभन्दा विगतको त्यागलाई भजाएर गरिने कांग्रेसको विरासतको खजाना अब लगभग खाली भइसकेको छ । प्रत्यक्ष तवरले जनाधारित भनिने पार्टीहरूको मत–विभाजनको राजनीति (प्लेबसाइटरी पालिटिक्स) उसै पनि चामत्कारिक नेतृत्वबेगर टिक्न सक्दैन । त्यस्तो प्रतिस्पर्धामा कांग्रेसका नेताभन्दा अहिले पनि ओली अगाडि छन् । आफूलाई आफैंले ‘एक प्रकारको सन्त’ ठहर्‍याउने उनी खासमा एमाले नामधारी राजनीतिक मठका महन्त हुन् । उनको राजषी आश्रमको गादीका सम्भाव्य दाबेदारमध्ये पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिस्पर्धामा अगाडि रहेको जस्तो देखिए पनि महन्तको शिरपोस अन्ततः कसको टाउकामा सुशोभित हुन पुग्ने हो, अहिले यकिन गर्न कठिन छ । कांग्रेसजस्तै एमाले पनि क्षयोन्मुख रहेकामा शंका गर्नु पर्दैन । मतदाताको कठिनाइ के हो भने यथास्थितिमा सन् १९९० पछि राष्ट्रिय राजनीतिमा कब्जा जमाउन सफल दुई वर्चस्ववादी दललाई चुनौती दिन सन् १९९६ तिर उदाएको माओवादीको निरन्तर पतनको क्रम रोकिने छाँटकाँट छैन ।
राष्ट्रिय कहलिने महत्त्वाकांक्षाले गर्दा एकातिर मधेश–आश्रित दलको स्वीकार्यता तिनको मताधार क्षेत्रमा घट्दै गइरहेको छ भने अर्कोतिर निकट भविष्यमा तिनले अन्यत्र आफ्नो प्रभाव फैलाउन सक्ने सम्भावना देखिँदैन । कमजोर संघीयताले क्षेत्रीय दलको सम्भावनालाई विद्यमान संविधानले समाप्त गरिदिएको छ । नेपालको राजनीतिक मैदानमा नयाँ चुनावी टोलीको प्रवेशका लागि वातावरण तयार छ, तर सम्भाव्य पात्रको पहिचान हुन सकिरहेको छैन । केही समययता चामत्कारिक तवरले सफल देखिएका रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई तथा जनमत पार्टीका अध्यक्ष सीके राउत राजनीतिका तेज धावक (स्प्रिन्टर) जस्ता लाग्छन् । तर, तीमध्ये कसैसँग पनि लामो दौडमा टिक्न सक्ने योद्धा (मेरथानर) बन्न सक्ने दूरदृष्टि, संयम, संकल्प, धैर्य, सहयोगी भाव (टिम स्पिरिट) एवं तात्कालितासँग एक हदसम्मको निस्पृहता विकसित हुन सकिरहेको छैन ।

वैचारिक रिक्तता
समसामयिक राजनीतिबाट विचाराधाराको अवसानबारे चुकचुकी गर्ने चलन दुनियाँभर नै फैलिएको छ । त्यस्तो थकथकीको दोषभागी यो पंक्तिकार पनि हो । कांग्रेसमा समाजवाद, एमालेमा मार्क्सवाद एवं माओवादीमा माओवाद माइक्रोस्कोप लगाएर खोज्न पनि कठिन छ । अमेरिकाको आसन्न निर्वाचनमा दोस्रो कार्यकालका लागि इच्छुक वर्तमान राष्ट्रपति जो बाइडेन र पुनः सो पद हत्याउन लालायित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प क्रमशः डेमोक्र्याट एवं रिपब्लिकन पार्टीका चयनित उम्मेदवार हुन् । शीर्ष पदका दुवै आकांक्षीको अर्थराजनीतिक आस्थाबारे सायद तिनका आफ्नै समर्थक पनि आश्वस्त छैनन् । बेलायतका कन्जर्भेटिभ एवं लेबर पार्टीहरू एकअर्काको वैचारिक प्रतिरूप बनेको दशकौं भइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक रूपमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका हुन्— त्यसो हुनु भनेको विचारधारा–मुक्त हुनु हो । आफूलाई ‘अर्थनीतिमा समाजवादी, राजनीतिमा उदारवादी र सांस्कृतिक मामिलामा रुढिवादी’ रहेको घोषणा गर्ने अमेरिकी समाजशास्त्री डेनियल बेलले उत्तर–औद्यौगिक समाजको उदयसँगसँगै विचारधाराको अन्त भइसकेको घोषणा सन् १९६० तिरै गरिसकेका थिए । विडम्बना एवं विरोधाभास उनको आत्मस्वीकृतिमा अन्तर्निहित छ— समाजवादी अर्थनीति, उदारवादी राजनीति एवं रुढिवादी संस्कृतिको सम्मिश्रण आफैंमा एक किसिमको विचारधारा हो जसलाई ‘स्क्यानडानेभियन समाजवाद’ भने पनि फरक पर्दैन । समाजशास्त्री बेलको आधारभूत मान्यतासँग भने असहमत हुने ठाउँ छैन । आर्थिक र सामाजिक असहजता तथा असामञ्जस हटाउन प्रायः वैचारिक उद्यमीहरूले अर्थराजनीतिक प्रस्तावना प्रस्तुत गर्छन् । त्यस्ता वैचारिकताको औचित्यलाई राजनीतिक उद्यमीले स्थापित गरेपछि त्यो आफ्नो कालखण्डको विचारधाराका रूपमा स्थापित हुन्छ ।
खानाबदोस कबिलाहरूबीच निरन्तर भइरहने द्वन्द्व साम्य गरेर कृषि सभ्यताको बन्दोबस्त सुनिश्चित गर्न दैविक वैधानिकता प्राप्त राजतन्त्रको सुरुवात भएको हुनुपर्छ । द्वन्द्व राजाहरूबीच पनि भइरहने भएपछि साम्राज्यहरूको गठन भयो । साम्राज्यहरू भारीभरकम भएर अप्रबन्धनीय बन्दै गएपछि सामन्तहरू बलियो हुनु स्वाभाविक थियो । तिनका ज्यादती रोक्ने क्रममा बौद्ध, इसाई एवं इस्लामजस्ता संगठित धर्महरूको उदय भयो । संगठित धर्म आफ्नो शुद्धता फैलाउन सैनिक अभियान चलाउनसमेत धक मान्दैन । इसाई र इस्लामबीचको धर्मयुद्धले युरोपेली विस्तारवाद एवं प्रारम्भिक उपनिवेशवाद (प्रोटोकोलोनिलिज्म) बलियो बन्दै गएको कुरा अतार्किक लाग्दैन । धर्मगुरुबीच प्रभावको द्वन्द्वले आजित भएर वेस्टफेलियन बन्दोबस्तमार्फत सार्वभौम राज्यसत्ताको अवधारणा स्थापित भएको हो । त्यसपछि सम्राज्यका विरुद्ध स्वायत्तता, राजतन्त्रका विरुद्ध प्रजातन्त्र एवं औपनिवेशिक नियन्त्रणका विरुद्ध स्वतन्त्रताजस्ता विचारधाराले मानवीय मूल्य एवं मान्यतालाई निरन्तर बढाउँदै लगेको पाइन्छ, यद्यपि परिवर्तनको यात्रामा उतारचढाव नदेखिएका होइनन् । बेलायती क्रान्तिले सामन्तहरूको शक्ति बजारका खेलाडीको हातमा पुर्‍याएको थियो । अमेरिकी क्रान्ति नारीद्वेष एवं अश्वेत घृणाबाट मुक्त रहन सकेन । रुसको क्रान्तिले जारहरूको साम्राज्यका भारदारलाई साम्यवादीहरूका ‘लाल सामन्त’ भन्न मिल्ने नवसम्भ्रान्तबाट विस्थापित मात्र गरेका थिए । कृषि सभ्यताले एकतन्त्रवाद, सशस्त्र विद्रोहले उदारवाद, औद्योगिक क्रान्तिले समाजवाद एवं व्यावसायिक प्रतिस्पर्धाले बहुलवादको आवश्यकता स्थापित गरेकाले हुनुपर्छ । समाजशास्त्री बेलले उत्तर–औद्योगिक अर्थराजनीतिमा स्थापित विचारधाराको उपयुक्तताबारे प्रश्न उठाएका थिए । त्यस्ता प्रश्न देश, काल र परिस्थितिअनुसार अहिले पनि सान्दर्भिक छन् ।
राजनीतिक दलमध्ये सबभन्दा धेरै विद्यावारिधि गरेका विद्वान् कांग्रेसमै हुनुपर्छ । सानेपा मुख्यालयतिर आजभोलि ‘डाक्टरसाहेब’ सम्बोधन सामान्य बन्ने क्रममा छ । तर त्यस दलको मूल चरित्र अहिले पनि राजासँग लडेर शक्ति प्राप्त गरेका सामन्तहरूको समूहजस्तो मात्र छ । चीनका राजनीतिक पथप्रदर्शक सन यात–सेनको ‘कुओमिनताङ’ आदर्शबाट लगभग हुबहु सारिएका ‘राष्ट्रियता, प्रजातन्त्र एवं सामाजिक न्यायसम्बन्धी सिद्धान्त’ मध्ये कांग्रेसले ‘सामाजिक न्याय’ पदावलीलाई ‘समाजवाद’ शब्दले प्रतिस्थापन गरेको हो । समस्या के भइदियो भने बहुलता बेगरको राष्ट्रियता, राजा सहितको प्रजातन्त्र एवं सामाजिक न्याय बेगरको समाजवाद फगत खोक्रो नाराभन्दा बढी कहिल्यै केही हुन सकेन । कांग्रेससँग समर्थकहरूलाई एकसूत्रमा जोड्ने कुनै विचारधारा वा नेतृत्व बाँकी नरहेकाले त्यो दल आ–आफ्ना प्रभाव क्षेत्रमा बलिया रहेका ‘प्रजातान्त्रिक सामन्तहरू’ को गठजोडमा सीमित हुन पुगेको छ ।
झापा विद्रोह साम्य भएपछि सत्तासँग लेनदेन गरेर अस्तित्व जोगाउने रणनीतिबाट जन्मिएकाले जुनसुकै सर्तमा सत्तासीनसँग टाँसिएर बस्ने कार्यनीतिले गर्दा एमालेलाई कहिल्यै कुनै उल्लेख्य संघर्षमा सहभागी हुनुपरेको छैन । त्यो भनेको नृजातीय वर्चस्ववाद, नग्न बहुसंख्यकवाद, जनोत्तेजकता, अन्यघृणा एवं अन्धराष्ट्रवाद सन्निहित रहेको यथास्थितिवाद हो । त्यस्तो राजनीतिक उद्यम कुनै एक सर्वेसर्वाको एकक्षत्र शासनबेगर चल्न सक्दैन । औद्योगिक क्रान्ति त परको कुरा भयो, कृषि क्रान्तिसमेत हुन नसकेको नेपाली समाजमा ‘बन्दुकको नालबाट’ निस्किने शक्ति लामो कालसम्म टिक्न सक्दैन भन्ने सामान्य कुरा ठम्याउन माओवादीलाई एक दशकभन्दा बढी लागेको हो । आ–आफ्नो व्यवसायमा दक्ष र सफल रहेका पेसाकर्मीको ‘पार्टनरसिप एन्टरप्राइज’ जस्तो बन्न पुगेको रास्वपामा सभापति लामिछानेको हैसियत सुस्तरी घट्दै जान सक्छ । सन् १९९० पछि लबेदा–सुरुवाल फालेर रातारात प्रजातान्त्रिक कुर्ता लगाउँदै चाक्सीबारी, पुल्चोक र महाराजगन्जतिर देखिन थालेका ‘चैते कांग्रेसीहरू’ सभापति शेरबहादुर देउवाबाट खास केही पाउन नसकिने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उदीयमान पेसाकर्मीका पछाडि दौडिएका थिए । विचार, संगठन र नेतृत्व कमजोर भएपछि फगत स्रोतको बलमा कुनै राजनीतिक उद्यमलाई गतिशील राख्न नसकिने कुरा स्वतः सिद्ध छ । विद्यमान परिस्थितिको यथार्थपरक आकलन गरेर पुराना दलको पुनःपरिकल्पना र पुनःसंरचना वा नितान्त नयाँ दलको उदय नभएसम्म विद्यमान बेथिति घट्ने कुनै सम्भावना देखिँदैन ।

राजनीतिक उद्यमशीलता
व्यापारिक उद्यमीहरू बजारमा कुनै वस्तु वा सेवाको आवश्यकताले उब्जाएको समस्याको पहिचान गर्छन् । सम्भाव्य आपूर्ति व्यवस्थाको आकलन गर्छन् । लागत अनुमान गर्छन् । लाभ–हानि र जोखिमको जाँच गर्छन् । पुँजी र प्रविधिको इन्तजाम गर्छन् । त्यसपछि समाधान प्रदान गर्ने प्रचारका साथ प्रतिस्पर्धामा उत्रिन्छन् । लगभग तार्किकताका त्यस्ता सबै मापदण्ड सामाजिक उद्यममा पनि लागू हुन्छ । सामाजिक उद्यमीहरू पनि सबभन्दा पहिले समाजमा व्याप्त कुनै समस्यालाई पहिल्याउँछन् । त्यसपछि अग्रसरता, स्वैच्छिकता, ऐक्यबद्धता एवं सामूहिक प्रयासजस्ता सामाजिक उद्यमिताका सर्वमान्य सिद्धान्त अपनाउँदै सबभन्दा टड्कारो समस्याको समाधान खोज्छन् । समस्या पुनरावृत्ति भइरहने प्रकृतिको हो भने दिगो प्रयासको संस्थाकरण गरिन्छ । व्यावसायिक जस्तै सामाजिक उद्यमशीलताको इतिहास पनि धेरै पुरानो हो । तर आधुनिक एवं दिगो किसिमले पथप्रदर्शक नवप्रवर्तनद्वारा सामाजिक परिवर्तन ल्याउन सकिने अवधारणालाई संस्थाकरण गर्नेहरूमा ‘अशोक’ भनिने अमेरिकी नागरिक संस्थाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत बिल ड्रेटनको नाम अगाडि आउँछ । विगतमा भरतदत्त कोइरालादेखि राजेन्द्र दाहाल एवं डिल्ली चौधरीदेखि महावीर पुनसम्म उनको अन्तर्राष्ट्रिय अशोक अभियानसँग जोडिएको अभिलेख छ । राजनीतिक उद्यमका लागि भने व्यावसायिक उद्यमीको बुद्धि र सामाजिक उद्यमीको विवेक सँगसँगै कलाकारको कल्पनाशीलता पनि चाहिन्छ ।
सङ्गृहीत ज्ञानका आधारमा बुद्धिले समाधान सुझाउँछ । सार्वजनिक हितको कसीमा खरो उत्रिएको किफायती उपायलाई विवेकशील व्यक्तिले सहजै अंगीकार गर्छन् । सन् १९६० को दशकमा समाजशास्त्री बेलले उत्तर–औद्योगिक समाजका यथार्थर् औंल्याएका थिए । समसामयिक विश्वमा विघटनकारी प्रवृत्तिहरू (डिस्रप्टिभ ट्रेन्ड्स) त्यसभन्दा धेरै शक्तिशाली भइसकेका छन् । दुनियाँका धेरैजसो देश बहुराष्ट्रिय हुँदै गएकाले राष्ट्रियताको पुनःपरिभाषा जरुरी भइसकेको छ । बेनेडिक्ट एन्डरसनको परिकल्पित समुदाय (इमेजिन्ड कम्युनिटी) अवधारणाले ‘आफ्ना’ लाई जोड्ने सँगसँगै ‘अरू’ सँगको अलगावलाई पनि इंगित गर्छ । मुद्रित भाषाबाट वाचन प्रथातिर उन्मुख समुदायलाई दूरस्थ राष्ट्रवादले उद्वेलित गर्न थालेको छ । (अ) सामाजिक सञ्जालले विस्तारित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई चिनियाँहरूको अभेद्य अग्नि पर्खाल (फायरवाल) बाहेक अरू कसैले रोक्न सकेका छैनन् । जलवायु परिवर्तनका जोखिम, महाव्याधिको डर एवं निमेषभरमा एउटा सार्वभौम देशबाट कुनै करमुक्त आश्रय (ट्याक्स हेभेन) तिर पुँजी पलायन हुन सक्ने अवस्थाले गर्दा औपचारिक सरकारहरू निरीह देखिन्छन् ।
भाडाका लडाकुलाई नैतिकताको कुनै नियमले बाँध्न सक्दैन । अनिश्चितता एवं अस्थिरताबाट आतंकित मतदाताहरू धर्म, धन वा राष्ट्रवादको इन्धनले चलाउने नव–फाँसीवादको शरण पर्न थालेका छन् । संयमित उपयोगबाट अनियन्त्रित उपभोग र संगठित परिश्रमबाट अनुबन्धित श्रममा आधारित विप्रेषणतिर मोडिएको अर्थतन्त्रमा कस्तो खाले राजनीतिक ‘स्टार्टअप’ टिक्न सक्छ ? कुरा फेरि उही आलिसान होटलमा आयोजित बिहे भोजको गन्थनका क्रममा उठेको अर्को एउटा प्रश्न– ‘हैन, कहिलेसम्म यस्तै चल्छ ?’ उत्तर न्युटनको जडताको नियममा अन्तर्निहित छ– ‘बाह्य बल नलागेसम्म गतिमान वस्तु गतिमान र स्थिर वस्तु स्थिर नै रहिरहन्छ ।’ देशभित्र र बाहिर रहेका श्रमजीवीलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना । कुनै दिन तिनको हित हेर्ने राजनीतिक दल पक्कै उदाउनेछ ।

Page 5
दृष्टिकोण

स्वतन्त्र दलित सामाजिक आन्दोलनको आवश्यकता

- मेघेन्द्र विश्वकर्मा

दक्षिण एसियाली समाजको मूल चरित्र बोकेको हिन्दुधर्मीय अवैज्ञानिक वर्ण व्यवस्थामा आधारित विभेदकारी, क्रूर र अमानवीय जात प्रथाले शताब्दियौंदेखि निरन्तर अनियन्त्रित शक्तिको अभ्यास गर्दै आइरहेको छ । वनमाराझैं फैलिएको विषरूपी जात प्रथाले करोडौं मानिसको जीवन अपमानित र घृणित मात्रै नभई तहसनहस बनाइदिएको छ । यस सामाजिक कुप्रथाले मानव सृष्टिको प्रक्रिया, प्राकृतिक न्यायको सिद्धान्त, वैयक्तिक आत्मसम्मान र विश्वव्यापी मानवअधिकारमाथि गम्भीर चुनौती थोपरिदिएको मात्रै छैन कि मानवीय अस्तित्वमाथि पूर्णतः धावा बोल्दै आएको छ । अवैज्ञानिक छुवाछूत प्रथाको धार्मिक–सांस्कृतिक क्षेत्रमा गरिएको अभ्यासले ठूलो संख्यामा रहेका मानव जातिलाई अपवित्र र दूषित बनाउने कार्य त गरेको छँदै छ, त्यससँगै दक्षिण एसियाली समाजलाई मनोवैज्ञानिक रूपमा पूर्णतः विखण्डन र गहिरो विभाजनतर्फ धकेलिदिएको छ । आर्य सभ्यताको जगमा विकसित हिन्दु धर्मले जातीय छुवाछूत प्रथाको अलावा लैंगिक विभेद, धार्मिक अतिवाद–भाग्यवादप्रतिको भ्रमपूर्ण विश्वास र असमान–शोषणमूलक आर्थिक–राजनीतिक सम्बन्धलाई दह्रोसँग संस्थागत गरेको देखिन्छ । परिणामतः यस भूगोलका करोडौं मानव समुदाय अछूत भएकै कारण कहालीलाग्दो आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक विभेदको सामना गर्न अभिशप्त छन् ।
स्वघोषित उच्च जात (छूत्/शुद्ध) हुनुको कारण समाजको निश्चित समूह वा वर्गले सत्ता, शक्ति, उत्पादनमूलक स्रोत साधन वा सम्पत्तिमाथि एकछत्र कब्जा जमाएको छ । यही समूहले राज्यसत्ता, शक्ति र सम्पत्तिको आडमा आम मानिसको स्वतन्त्र अस्तित्व र प्राकृतिक न्यायको अधिकारलाई कुण्ठित गर्ने र आफ्नो मुठीभित्र राख्दै आएको छ । अन्ततः हिन्दुधर्मीय वर्ण व्यवस्थामा आधारित जात प्रबन्धले दक्षिण एसियामा मूलतः निरन्तर दुई पृथक् मानवको उत्पादन गर्दै आइरहेको देखिन्छ । पहिलो, समाजमा अस्तित्व, प्रभाव र पहुँच रहेका उच्च, छूत्, शुद्ध, कुलीन, शासक, सामन्त र कथित उत्कृष्ट मानवको उत्पादन । दोस्रो, समाजमा अस्तित्वविहीन, निष्प्रभावी र पहुँचविहीन रहेका दास, शूद्र, परिगणित, अछूत, हरिजन वा दलितरूपी निकृष्ट, नीच र भुइँ मानवको उत्पादन । यसबाट स्पष्ट हुन्छ कि दक्षिण एसियाको हिन्दुधर्मीय समाज मूलभूत रूपमा जात व्यवस्थामा आधारित दुई अलग मानव जातिको उत्पादन गर्ने कारखाना हो । हिन्दुधर्मीय वर्ण व्यवस्थालाई शताब्दियौंदेखि निरन्तर अघि बढाइरहेको सामाजिक, सांस्कृतिक र धार्मिक संरचनामा मात्रै नभई उत्पादनका आधारभूत संरचना र शासन व्यवस्थामा आमूल बदलाव नल्याउँदासम्म जात प्रथारूपी कारखानाले युगौंयुगसम्म उच्च र नीच दुई भिन्न मानव जाति निरन्तर कोरलिरहने निश्चित छ ।
दक्षिण एसियाली समाजको जात प्रथाको विरासतलाई अथर्व वेदकालीन युगदेखि नै काँध थाप्दै आएको हिन्दु बहुल नेपाली समाज वर्गप्रधान नभई जातप्रधान मानिन्छ । वर्ण व्यवस्थामा आधारित जात प्रथा नै नेपाली समाजको मूल चरित्र हो । भारतीय उपमहाद्वीपमा भारतपछि हिन्दु धर्मावलम्बीको ठूलो जनसंख्या रहेको नेपाली समाजले वर्ण व्यवस्थामा आधारित जात प्रथालाई राज्यसत्ता–शक्तिको कठोर निर्देशन र प्रत्यक्ष संलग्नतामा हुर्काउने, कडाइपूर्वक कार्यान्वयन गर्ने र पुस्तैनी हस्तान्तरण गर्ने शताब्दियौं लामो प्रक्रियामा अद्भुत योगदान पुर्‍याइरहेको छ । वेदकालीनदेखि सामन्ती युग हुँदै पुँजीवादी युगसम्म आइपुग्दा हामीकहाँ जात व्यवस्थाको प्रभाव, दबाब र अभ्यासमा रत्तिभर कमी देखिएको छैन । आधुनिक नेपालको निर्माण हुनुअघि र पछिको कालखण्ड वा राजतन्त्रकालीन वा राष्ट्रपतीय शासन पद्धतियुक्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नै किन नहोस्, हिन्दु समाजले अनुसरण गर्दै आइरहेको अवैज्ञानिक र विभेदकारी जात व्यवस्थाको तागतमा रत्तिभर कमी नआउनुले आफैंमा आधुनिक राज्य व्यवस्थालाई नै गिज्याएको प्रतीत हुन्छ ।
नेपालका दलित समुदाय हिन्दुधर्मीय उच्च जातिवादी शासक र जातिगत सामाजिक–सांस्कृतिक संरचनाका कारण असह्य बहुआयामिक विभेद, शोषण र उत्पीडन झेल्न बाध्य छन् । उनीहरू विकासका सबै आयाममा समाजको पिँधमा रहेको विभिन्न सरकारी/गैरसकारी तथ्यांकहरूले पुष्टि गरेका छन् । युगौंदेखि चौतर्फी आर्थिक शोषण, सामाजिक बहिष्करण र जातीय विभेदमा पारिएका दलित समुदायले अवैज्ञानिक छुवाछूत प्रथाको उन्मूलन, सामाजिक सशक्तीकरण र राजनीतिक मूलप्रवाहीकरणको माग राखेर विभिन्न कालखण्डमा फरक–फरक स्वरूपका थुप्रै सामाजिक संघर्ष सञ्चालन गर्दै आए । यद्यपि प्रारम्भमा सशक्त र प्रभावकारी देखिएको दलित संघर्ष पञ्चायतकालदेखि नै कमजोर हुन थाल्यो । पचासको दशकमा उठ्ने प्रयास गरेको दलित संघर्ष सत्तरीको दशकमा आइपुग्दासम्म पूर्णतः खतरामा पुग्यो । संविधान निर्माणको बखत जनजाति, मधेशी र क्षेत्रीय आन्दोलनहरूको तुलनामा दलित आन्दोलनको प्रभाव बिलकुल कमजोर हुँदै गयो भन्ने विषय राजनीतिक–सामाजिक वृत्तमा गम्भीरतापूर्वक उठ्यो । यत्तिसम्म कि नाम मात्रैको दलित आन्दोलन सञ्चालन गर्नु र नगर्नुमा तात्त्विक भिन्नता नरहेको भन्नेसम्मको कडा आलोचना र टीकाटिप्पणीसमेत भए । निश्चय नै प्राज्ञिक, सामाजिक र राजनीतिक क्षेत्रमा हुने यस किसिमका कठोर आलोचनाले दलित सामाजिक आन्दोलनको अस्तित्वमाथि गम्भीर प्रश्न उठाइदिएको छ ।
खासगरी छुवाछूत प्रथाको अन्त्य, दलित समावेशीकरण र क्षतिपूर्तिसहितको दलित अग्राधिकारको विषयलाई प्रमुख एजेन्डा बनाएको दलित सामाजिक आन्दोलनको शक्तिमा समयक्रमसँगै किन ह्रास आउँदै गयो ? यस आन्दोलनका मूलभूत चुनौती के–के हुन्, जसले दलित सामाजिक आन्दोलनलाई सशक्त, प्रभावकारी र एकीकृत रूपमा अघि बढ्नबाट रोक्यो ? त्यससँगै, दलित आन्दोलनको आगामी दिशा र गन्तव्य बिन्दु कहाँ हो ? दलित सामाजिक संघर्ष कमजोर हुनुका पछि कुन–कुन पक्ष, कारक र शक्तिको भूमिका रह्यो ? साँघुरो घेराभित्र निर्माण गरिएको दलित आन्दोलनको वैचारिक अवधारणामा कहाँ कस्तो कमजोरी देखिन्छ ? नेपालको दलित सामाजिक आन्दोलनको चरित्र र प्रवृत्तिमाथि उठेका कैयौं प्रश्नमा टेकेर आन्दोलनको गम्भीर समीक्षा गरिनुपर्ने आवश्यकता देखिएको छ । यस आलेखमा नेपालको दलित सामाजिक आन्दोलनका मूलभूत कमजोरी, चुनौती र आन्दोलनको आगामी कार्यभारका सम्बन्धमा संक्षेपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
कमजोरी
पचहत्तर वर्षभन्दा लामो संगठित आन्दोलनको इतिहास बोकेको दलित सामाजिक संघर्ष सुरुका वर्षहरूमा सशक्त र बलशाली देखिएको थियो । पञ्चायती व्यवस्थामा दलित नेताहरूमा सत्ताप्राप्तिको लालसा पैदा भएसँगै मौलाएको अवसरवादी प्रवृत्तिले दलित आन्दोलन अवसानको नजिक पुग्यो । लामो समयसम्म निष्क्रिय रहेको दलित आन्दोलनले प्रजातन्त्रको स्थापनासँगै क्रमिक रूपमा आफ्नै तागतमा उठ्ने तरखर गर्दा नगर्दै सशस्त्र माओवादी विद्रोहको ओत लियो । समयक्रमसँगै विभिन्न राजनीतिक दलहरूको वैचारिक घेराभित्र आन्दोलन कैद हुनुले दलित मुक्तिको सपना टाक्सिन पुगेको छ । आद्यपर्यन्त एकीकृत आन्दोलनको आवश्यकता बोध हुँदाहुँदै पनि सत्ता स्वार्थ र राजनीतिक लाभका निम्ति दलहरूको फेरो समाउने नेताहरू दलहरूकै प्रयत्नबाट दलित समुदायको बृहत्तर मुक्ति हुने भुलभुलैयामा परिरहेका छन् । सिंगो दलित समुदायलाई दलैपिच्छेका राजनीतिक विचारधारामा विभाजन नगरी सशक्त र बलशाली दलित सामाजिक आन्दोलन सञ्चालन गर्न छाडेर दल र नेताको निगाहाको भरमा दलित समुदायले चौतर्फी विभेद र असमानताबाट मुक्ति पाउने काल्पनिकतामा दलित नेतृत्व रमाउनु विचित्र छ ।
दलित सामाजिक आन्दोलनले प्रारम्भदेखि नै छुवाछूत अन्त्य र दलित समावेशीकरणको एजेन्डालाई प्रधान विषय बनाउँदै आए पनि दलित समुदायमा रहेको भयावह गरिबी, आर्थिक असमानता र भूमिहीनताको प्रश्नलाई पछिल्लो समय दह्रोसँग उठाउन सकेन । दलित समुदायको गैरभौगोलिक संघीय राज्य, दलित बहुल क्षेत्रलाई विशेष क्षेत्र निर्धारण गर्ने, जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वका साथै क्षतिपूर्ति बापतको थप सुविधा र निर्वाचनमा दलित–दलितबीचमा प्रतिस्पर्धा गर्ने कानुनी व्यवस्थाको प्रबन्ध लगायतका एजेन्डाहरू दलित नेतृत्वको असक्षमता, कमजोर दलित संगठन र स्पष्ट वैचारिक दृष्टिकोणको अभावका कारण खतरामा परेका हुन् । आखिर दलित समुदायका नेताहरू विभिन्न पार्टीमा विभाजित भएसँगै उनीहरूले बोक्ने राजनीतिक विचारधारात्मक दृष्टिकोण, सांगठनिक दायित्व र पार्टीगत रणनीति/कार्यनीति अलग–अलग हुनुले दलित मुक्ति आन्दोलनको विषय छायामा पर्नु अस्वाभाविक होइन ।
दलित नेताहरूका बीचमा दलित आन्दोलनप्रतिको साझा दायित्वबोध प्रकट हुनुको सट्टा दलगत प्रतिस्पर्धी भावना, व्यक्तित्वको टकराव र दलित गैरसरकारी संस्थाहरूको सुधारवादी कार्यमा रमाउने प्रवृत्तिले दलित आन्दोलनमा क्षति पुग्यो । राजनीतिक दलको नियन्त्रणमा बाँधिएका दलित भ्रातृ संघ/संगठनले स्वतन्त्र हैसियतमा दलित आन्दोलनलाई अघि बढाउने अपेक्षा राख्नु कसैगरी सही होइन । दलित आन्दोलनले दलित समुदायका बीचमा सामाजिक–सांस्कृतिक अन्तर्घुलनका कार्यक्रम लैजाने, बौद्धिक दलित व्यक्तित्वलाई आन्दोलनको मूलधारमा भूमिका प्रदान गर्ने र प्रगतिशील गैरदलित व्यक्ति, समूह वा संगठनसँग हातेमालो गर्ने कार्यमा दलित आन्दोलनको ध्यान पुगेको पाइँदैन । संक्षेपमा भन्दा आन्दोलनलाई निर्णायक, गतिशील र सशक्त बनाउन साझा संगठन, साझा वैचारिक दृष्टिकोण र सामूहिक नेतृत्वको विकास गर्नबाट दलित आन्दोलन प्रस्ट चुकेको छ । दलित सामाजिक आन्दोलनले बहुआयामिक विभेदबाट प्रताडित रहेका दलित समुदायको बृहत्तर मुक्तिका निम्ति स्पष्ट वैचारिक दृष्टिकोणको विकास, बलियो संगठनको निर्माण र इमानदार नेतृत्वपंक्ति तयार गर्न नसक्नु नै मूल कमजोरी हो ।

चुनौती
नेपालको दलित सामाजिक आन्दोलनका अघिल्तिर मुक्तिको सम्भावनासँगै चुनौतीको चाङ रहेको छ । दलसम्बद्ध दलित भ्रातृ संघ/संगठनहरूले राजनीतिक दलहरूसँग दशकौंदेखि जातीय विभेद र बहुआयामिक मुक्तिको याचना गर्नु गल्ती मात्रै अवश्य थिएन । केही व्यक्तिले क्षणिक भोग गर्ने सत्ताशक्ति र पद प्रतिष्ठाका निम्ति एकीकृत र शक्तिशाली दलित आन्दोलनको पूरै सम्भावनालाई दलहरूकै पाउमा लगेर बिसाइदिनुचाहिँ दलित आन्दोलनप्रति उनीहरूले दिएको सबैभन्दा ठूलो धोका थियो । यस अर्थमा, बृहत् बलशाली र निर्णायक दलित आन्दोलनका निम्ति दलित समुदायलाई सत्ताको भर्‍याङका रूपमा प्रयोग गर्दै आइरहेका दलित राजनीतिक संघ/संगठनको प्रवृत्ति सबैभन्दा ठूलो चुनौती बनेको छ ।
दलित नागरिक समाजको नाममा मुठीभर व्यक्तिद्वारा अपारदर्शी रूपमा परिचालन गरिएको अर्बौंको वैदेशिक अनुदान कार्यक्रमले गरिबी र जातीय विभेदको मारमा रहेका दलित जनहरूको जीवनमा तात्त्विक फरक पारेको पाइँदैन । त्यसबाट सीमित व्यक्तिलाई लाभ दिनेबाहेक खास परिणाम दिएको देखिँदैन । त्यसो हुँदा, दलित आन्दोलनको बागडोर समाउने आकांक्षा राख्ने, गैससलाई राजनीतिक र आर्थिक उपार्जनको भर्‍याङ बनाउने र ससाना कार्यक्रमबाटै दलित मुक्तिको सपना बाँड्नेजस्तो तेहोरो चरित्र बोक्ने दलित गैरसरकारी संस्थाले दलित सामाजिक आन्दोलनलाई दुर्घटनाको नजिक पुर्‍याएका छन् । त्यस्तै, दलित समुदायका बौद्धिक, इमानदार र सक्षम व्यक्तिहरूलाई राजनीतिक दलमा आबद्ध रहेका स्वघोषित दलित नेता र दलित गैससकर्मीले खेद्ने प्रवृत्ति त्यत्ति नै डरलाग्दो छ । बुझक्कड भनिएकै दलितहरूको संकुचित सोचाइ, दलका नेताप्रति देखाउने दास मानसिकता र वैयक्तिक लाभका निम्ति आन्दोलनलाई नै बेवारिस अवस्थामा छोडिदिने अवसरवादी प्रवृत्ति नै वर्तमान दलित सामाजिक आन्दोलनको मूल चुनौतीका रूपमा देखिन्छन् ।

अबको बाटो
नेपालको दलित सामाजिक आन्दोलनले आम दलित समुदायलाई अवैज्ञानिक छुवाछूत प्रथा र बहुआयामिक विभेदबाट मुक्ति दिलाउने सन्दर्भमा केही कार्यभार पूरा गर्नुपर्ने देखिन्छ । पहिलो, संविधानको पूर्ण कार्यान्वयनका निम्ति आन्दोलनमार्फत दबाब सिर्जना गर्नु अहिलेको प्रमुख दायित्व हो । त्यसका निम्ति दीर्घकालीन रूपमा राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्यका साथ स्वतन्त्र दलित संगठनको निर्माण गरेर आन्दोलन सञ्चालन गर्नुपर्छ । तत्काल त्यस्तो अवस्था सम्भव नहुँदा संयुक्त मोर्चा निर्माण गरी संविधानको अक्षरशः कार्यान्वयन गर्न राज्य राजनीतिक दललाई बाध्य बनाइनु नै अहिलेको मूल जिम्मेवारी हो । दोस्रो, अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा भएका दलित र अन्य सामाजिक आन्दोलनको गहिरो समीक्षा गरी दलित सामाजिक आन्दोलनको स्पष्ट वैचारिक दृष्टिकोण निर्माण गरिनुपर्छ । सामन्तवादको अभिन्न अंग मानिने जात प्रथागत सामाजिक संरचना भूमण्डलीकृत पुँजीवादमा पनि शक्तिशाली स्वरूपमा रहेकोले विषयलाई गम्भीरतापूर्वक विश्लेषण गरिनुपर्छ ।
तेस्रो, मार्क्सवादी र प्रजातान्त्रिक दुवै राजनीतिक शक्तिहरूले दलित समुदायको छुवाछूतको अन्त्य र मुक्तिको एजेन्डाप्रति मुखले रामराम बगलीमा छुराको व्यवहार गरिआएका छन् । त्यसकारण, दलित मुक्तिको वैचारिक अवधारणा निर्माण गर्दा दलहरूको विकल्पमा दलित आन्दोलन स्वयंलाई सबल राष्ट्रिय शक्तिका रूपमा विकास गरी स्पष्ट सैद्धान्तिक, वैचारिक र संगठनात्मक कार्यदिशा निर्माण गर्नुपर्छ । चौथो, नेपाली कांग्रेसले बोकेको प्रजातान्त्रिक समाजवादको मार्गबाट दलित मुक्ति पूर्णतः असम्भव देखिएको र मार्क्सवादी विचारधारालाई कम्युनिस्ट भनिएका राजनीतिक शक्तिहरूले विकृत बनाएको देखिन्छ । यस अवस्थामा, उनीहरूले बोक्ने राजनीतिक विचारधारा र उनीहरूकै नेतृत्वमा दलित मुक्तिको परिकल्पना गर्नु काल्पनिकतामा रमाउनु मात्रै हुन्छ । तसर्थ, स्वयं दलितले निर्माण गर्ने सांगठनिक शक्तिमार्फत समानता, सामाजिक न्याय र समतामूलक समाजवादको लक्ष्यसहितको वैचारिकी विकास गर्नुपर्ने हुन्छ ।
पाँचौं, सबल र स्वतन्त्र दलित संगठनको निर्माण, छुवाछूत प्रथाको समूल अन्त्य, आर्थिक समानता र अग्राधिकार सहितको समानुपातिक समावेशिताको विषयलाई वैचारिक कार्ययोजनाको केन्द्रमा राख्नुपर्छ । राजनीतिक दल त्याग गरेर स्वतन्त्र र सबल दलित संगठन निर्माण गर्न लामो समय लाग्ने हुँदा बीचको अवधिमा संयुक्त मोर्चामार्फत दलहरूको दबाबबिना स्वतन्त्र दलित आन्दोलनलाई सशक्त रूपमा निरन्तर अघि बढाइनु श्रेयष्कर हुनेछ । छैटौं, दलित अन्तर्घुलनको प्रक्रियालाई अभियानकै रूपमा अघि बढाउने र गरिबी एवं भूमिहीनताको विषयलाई आन्दोलनको केन्द्रमा राख्नुपर्छ । दलित आन्दोलनले आवश्यकता र औचित्यताका आधारमा अन्य सीमान्तकृत समुदाय र शक्तिसँग सहकार्य गर्ने नीति लिइनुपर्छ ।
अन्त्यमा, माथि उल्लिखित विभिन्न कारणले संकटग्रस्त अवस्थामा पुगेको दलित सामाजिक आन्दोलनलाई कसैगरी पुनःस्थापित गर्न आवश्यक छ । बलशाली र हस्तक्षेपकारी स्वतन्त्र दलित आन्दोलनबाटै जातीय विभेदले आक्रान्त र बहुआयामिक शोषणमा परेका आमदलित समुदायको मुक्ति पूर्णतः सम्भव छ ।

दृष्टिकोण

छुटिरहेको यौनिकता बहस

- डा. रेणु अधिकारी


मानिसको जीवनसँग जोडिएको एक महत्त्वपूर्ण आयाम उसको यौनिकता हो । यौनिकता एक छाता अवधारणा भएको हुँदा यसको कुनै निर्दिष्ट परिभाषा छैन । विश्व स्वास्थ्य सङ्गठनको सामान्य परिभाषालाई आधार मान्ने हो भने यौनिकता व्यक्तिको विचार, कल्पना, आशा, विश्वास, मूल्य मान्यता, व्यवहार, भूमिका, सम्बन्धलाई अनुभव गराउने तथा प्रकट गराउने कार्य हो । यौनिकतालाई व्यक्तिको जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, नैतिक, कानुनी, ऐतिहासिक, धार्मिक तथा आत्मीय तथ्यहरूको अन्तरक्रियात्मक अनुभवले प्रभाव पार्छ । समग्रमा यौनिकताले व्यक्तिको व्यवहार, विश्लेषण, आफूलाई हेर्ने दृष्टिकोणजस्ता विभिन्न आयामलाई समेट्छ । उसको व्यक्तित्वमा प्रभाव पार्छ । आफूले भित्रबाट अनुभव गर्ने स्वतन्त्रताको अनुभूतिलाई प्रभावित बनाउँछ ।
विशेष गरेर यौनिकताको कुरा गर्दा यसलाई यौन सम्बन्धसँग मात्रै जोडेर हेर्ने चलन पनि छ । वास्तविकतामा हेर्ने हो भने यौनिकतालाई मानव जीवनको बहुआयामिक समुद्र मान्न सकिन्छ भने यौन सम्बन्ध त्योभित्र हुने घटना हो वा ज्वारभाटा हो । व्यक्तिको सक्रिय यौन साथी हुँदैमा, उसको नियमित यौन सम्पर्क हुँदैमा, त्यो पूर्ण सन्तुष्टि दिने, यौनिकतालाई पूर्ण बनाउने, चरम आनन्द दिने हुन्छ भन्न सकिन्न । धेरै महिला, पुरुष तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिसँगको अन्तरक्रियाले यसलाई पुष्टि गर्छ । धेरैको भनाइ छ– ‘मेरो यौन साथी (हाम्रोजस्तो समाजमा विशेषतः श्रीमान् र श्रीमती) छ, तर म सन्तुष्ट छैन ।’ सही यौन सम्बन्ध दुवैको पूर्ण सहमति, समान मानसिक, भावनात्मक र शारीरिक सहभागिता भए मात्रै हुन सक्छ । यस्तो यौन सम्बन्ध भए मात्रै व्यक्ति आफ्नो यौनिकतामा रमाउन सक्छ । यौनिक रूपले सन्तुष्ट हुन सक्छ । स्वतन्त्र अनुभुत गर्न सक्छ र खुसी हुन सक्छ । भनिन्छ नि प्रेमबिनाको यौन सम्बन्ध जस्तो पीडादायक केही छैन र प्रेमसहितको यौन सम्बन्ध जस्तो आनन्ददायक अरू केही हुनै सक्दैन । आधारभूत आत्मीयताको सिद्धान्तअनुसार मानव यौनिकता भनेको त्यस्तो अभिव्यक्ति हो, जसले व्यक्ति–व्यक्तिबीच सम्बन्ध तयार गर्दै एकअर्काको भावना सञ्चार गर्छ । आत्मीय सम्बन्धमा सबै कुरा मुखले भन्नुपर्ने वा अभिव्यक्त गर्नुपर्ने हुँदैन । एकअर्काको आँखा, मुड, शारीरिक हाउभाउ (भाषा) जस्ता कुराले पनि धेरै बोल्छन् । त्यसलाई बुझ्न सक्ने सम्बन्ध नै आत्मीय सम्बन्ध हो । यस्तो सम्बन्धमा मात्रै यौन सन्तुष्टि हुन सक्छ । प्रेम झाँगिन्छ । व्यक्तिको यौनिकता मौलाउँछ ।
दुर्भाग्य, हाम्रो जस्तो पितृसत्तात्मक समाजमा यौनिकता खासगरी महिला र पारलिङ्गीहरूको शरीरलाई वस्तुकरण गर्दै पुरुषको नियन्त्रणमा राख्ने औजारका रूपमा विकास गरिएको छ । महिला र पारलिङ्गीले कस्तो लगाउने, कस्तो साथी छान्ने, कोसँग प्रेम गर्ने, कोसँग शारीरिक सम्बन्ध राख्ने वा नराख्ने सबै कुरा पितृसत्ताले स्थापित गरेको महिलापन र पुरुषपनको मापदण्डलाई आधार बनाई तय गरिएको हुन्छ । सामाजिक मूल्य मान्यताअनुरूप त्यसलाई संस्थागत गरिन्छ ।
एउटी महिलाले भर्खरै मसँग साझा गरेको कुरा यहाँ राख्नु सान्दर्भिक होला । उनी कुनै एउटा तालिममा गएकी रहिछन् । समूहमा फोटो खिच्ने क्रममा एक जना पुरुषसँग अलि नजिकिएको जस्तो आएछ । यही फोटो देखेर श्रीमान्ले दिनरात ‘तेरो उसैसँग सम्बन्ध छ’ भन्न थालेछन् । श्रीमान्ले अचानक यस्तो शंका गरेपछि उनको मन यसै दुख्ने भइहाल्यो । त्यसपछि हुने यौन सम्बन्धमा करिब करिब उनी निष्क्रिय हुन पुगिन् । श्रीमान्सँगका यौन सम्बन्ध आनन्दभन्दा बढी पीडाका रूपमा रूपान्तरित हुन थाल्यो । अहिले त राति भयो कि डर लाग्छ रे !
यस्ता घटना हामीकहाँ कैयौं छन् । धेरै विवाहित दम्पती सँगै बस्छन् तर प्रेम छैन । यौन सम्बन्ध हुन्छ तर आत्मीयता छैन । यसको प्रत्यक्ष असर उनीहरूको व्यवहार र व्यक्तित्वमा परेको छ । यौन कुण्ठित व्यक्तिको विकास सहज हुँदैन । यौन कुण्ठाले विभिन्न हिंसा निम्त्याउँछ । मैले केही पारलिङ्गी महिला र पुरुषसँग भेटेर कुरा गर्दा पारिवारिक दबाबका कारण उनीहरूको अर्को लिङ्गको व्यक्तिसँग विवाह हुन्छ । तर, उनीहरूको यौनिकताले त्यो स्विकार्दैन, परिणामस्वरूप दुई व्यक्तिभित्र द्वन्द्व सुरु हुन्छ । पारिवारिक हिंसा सुरु हुन्छ । भर्खरै केही युवायुवतीसँग भेट्ने मौका मिलेको थियो । उनीहरूमध्ये धेरैको गुनासो थियो– ‘आफूले विवाह गरेको व्यक्तिसँग कुरा मिल्दैन, मानिस भएका कारण मानसिक भावनात्मक सहयोग आवश्यक हुन्छ । त्यसैले हाम्रो बाहिर सम्बन्ध हुन्छ भने कसैले अचम्म मान्नु पर्दैन ।’
मानिसको व्यवहार र स्वास्थ्य राम्रो हुन समाजमा अरू व्यक्तिसँग कस्तो सम्बन्ध छ ? उसका
आफ्ना अन्तरङ्ग सम्बन्ध कस्ता छन् ? बाल्यकाल, किशोरावस्था र युवावस्थामा नजिकका व्यक्तिसँग सम्बन्ध कस्तो थियो भन्नेले महत्त्वपूर्ण भूमिका खेल्छ । ऊ आफूसँग रमाउन सक्छ कि सक्दैन, उसका सपना देख्ने, खुसी हुने, आफू पनि महत्त्वपूर्ण व्यक्ति हो भनी अनुभुत गर्न पाउने वातावरण छ कि छैन भन्ने स्थितिले मानसिक स्वास्थ्य निर्धारित हुन्छ र यहीअनुरूप व्यक्तित्व बन्छ । यस्तो अवस्था मानिसले त्यतिखेर मात्रै पाउँछ, जतिखेर उसले
आफ्नो यौनिकतालाई बुझ्ने, रमाउने अनि खुसी हुने वातावरण पाउँछ ।
महिलाको मुक्ति आफ्नो यौनिकतालाई बुझ्ने, चाहना, भावना अभिव्यक्त गर्न पाउने वातावरणसँग जोडिएको हुन्छ । त्यसैले महिलावादी आन्दोलनको सुरुवातदेखि नै महिलावादीहरू यौनिकताको राजनीतिलाई विश्लेषण गर्दै र समाज बुझ्दै अगाडि बढिरहेका छन् । हाम्रो समाजमा अझै पनि महिलालाई शोषण गर्ने अस्त्रका रूपमा यौनिकतालाई हेरिने गरिन्छ । अतः अहिलेको यो दृष्टिकोणसहितको संरचनामा परिवर्तन हुन सक्दा महिला मुक्तिको आधार बन्न सक्छ भन्ने महिलावादी आन्दोलनले मान्छ । त्यसैले कुनै पनि व्यक्तिले जबसम्म आफ्नो यौनिकतालाई पूर्ण रूपले स्वतन्त्रतासाथ अनुभव गर्न पाउँदैन, तबसम्म ऊ मुक्त भएको मान्न सकिँदैन ।
प्रेम र यौन अन्तरसम्बन्धित छन् तर यी दुवै एक होइनन् । सबै खाले प्रेममा यौन सम्बन्ध हुनुपर्छ भन्ने छैन तर प्रेम नभएको यौन सम्बन्ध आत्मीय हुन सक्दैन । यसलाई पुष्टि गर्न वर्षौं पहिले कोलकाताको सोनागाछीकी एक यौनकर्मीले मसँग भनेको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । उनले भनेकी थिइन्– ‘दिदी म मेरो कम्मरमाथिको अङ्गहरूद्वारा प्रेम गर्छु तर कम्मरभन्दा तल्लो भागलाई प्रयोग गरेर
आफ्नो जीवन चलाउँछु । मैले जीवन चलाउन गरेको कामसँग मेरो कुनै भावनात्मक सम्बन्ध हुँदैन ।’
हिजोआज जो महिला मकहाँ आउँछन्, उनीहरू पनि कतै यस्तै स्थितिमा त छैनन्् भन्ने लाग्छ । धेरैले भन्छन्– ‘म श्रीमान्सँगै छु, मेरो यौन सम्पर्क पनि हुन्छ तर हामीबीच प्रेम छैन । मैले मेरो जीवनमा खुसी र सन्तुष्टिको अनुभव गर्न छाडेको धेरै भइसक्यो ।’ म महिलाका सवाल सम्बन्धित काम गर्छु, त्यसैले मैले धेरै महिलाको कुरा सुनेकी छु । मलाई विश्वास छ, यस्तै अवस्था पुरुषहरूको पनि छ । योभन्दा जटिल अवस्थाबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महिलाहरू गुज्रिरहेको हुनुपर्छ भन्ने अनुमान म सहजै लगाउन सक्छु ।
हामीकहाँ यौन विकृति, शोषण, बाल यौन दुर्व्यवहार, भागेर गर्ने बालविवाह जस्ता यौनसँग जोडिएका घटना बढिरहेका छन् । यसका विभिन्न कारणमध्ये एक महत्त्वपूर्ण हो– व्यक्तिभित्र रहेको यौन चाहना अनि चाहना व्यक्त गर्न नसकेर हुने कुण्ठा । हरेक व्यक्तिभित्र यौन चाहना हुन्छ । ऊ त्यो अभिव्यक्त गर्न चाहन्छ । तर हाम्रो जस्तो समाजमा जहाँ यौनको कुरा गर्नु, चाहनाबारे खुलेर छलफल गर्नुलाई अश्लील मानिन्छ, त्यहाँ व्यक्तिले आफ्नो यौन चाहना पूरा गर्न विभिन्न बाटो रोज्छ । तीमध्ये धेरै अपराधतिर लाग्छन्, अरूलाई पीडा दिने तर आफैंलाई घात गर्ने बाटो रोज्छन् । अर्को महत्त्वपूर्ण कुरा, यी सबै बाटाभित्र उसको यौन चाहना त पूरा होला तर पूर्ण सन्तुष्टि दिने प्रेम उसले पाउन सक्दैन । ऊ आफ्नो यौनिकतामा खुसी हुन सक्दैन । परिणामतः उसको व्यक्तित्व नै प्रभावित हुन पुग्छ । ऊ अपराधी, मानसिक रोगी वा असफल व्यक्ति बन्न पुग्छ ।
त्यसैले महिलावादीहरू भन्छन्– ‘यदि महिलाले आफ्नो यौनिकतालाई बुझ्ने, रमाउने, रोमाञ्चित हुने अनि आफ्नो जीवनबारे आफैं निर्णय लिन सक्ने अधिकार प्राप्त गर्ने अवस्था आयो भने मात्रै महिला मुक्ति सम्भव छ ।’ हामीले अहिलेसम्म व्यक्तिको उत्पादनमाथिको अधिकारको कुरा गर्‍यौं । सम्पत्तिमाथिको कुरा उठायौं तर उक्त उत्पादन गर्न सक्षम बनाउने, सम्पत्तिलाई उपभोग गरी रमाउन आवश्यक पर्ने व्यक्तिको शरीर, यौनिकता अनि मनोभावनाका बारेमा कुरा गरेनौं । हामीले हिंसा र पीडाका बारेमा धेरै बोल्यौं तर खुसी र आनन्दकाबारे बोल्न डरायौं । समाजले के भन्छ भनेर हच्कियौं । सायद त्यसैले महिला हिंसा कम भएको छैन । दम्पतीबीच प्रेम छैन, पारपाचुके बढेको छ । विश्वासको सम्बन्ध छैन, त्यसैले घरभित्र र बाहिर सबैतिर यौन हिंसा बढेको छ । यो स्थितिमा न व्यक्ति नै खुसी हुन्छ न त देश । मानिसको जीवनको जग प्रेममा अडिएको हुन्छ । प्रेम र यौन सम्बन्ध दुई फरक कुरा हुन् । सबै प्रेम यौन सम्बन्धमा टुङ्गिँदैन । तर कुनै पनि यौन सम्बन्धमा प्रेम छैन भने त्यो यौन सम्बन्ध पीडादायक हुन्छ । जबसम्म व्यक्तिले आफ्नो यौनिकतालाई बुझ्ने, खुसी हुने, रमाउने, आफैं निर्णय गर्ने वातावरण पाउँदैन तबसम्म न उसले साँचो प्रेम गर्न सक्छ न त यौन सम्बन्धमा सन्तुष्टि पाउँछ । ऊ कहिले आफूलाई स्वतन्त्र अनुभुत गर्न सक्दैन । यो जीवनको शाश्वत सत्य हो । त्यसैले अब हामी सबैले यौन, यौनिकता र प्रेमका सम्बन्धमा खुलेर चर्चा गर्दै महिला मुक्ति अनि स्वतन्त्रताको आधार तयार गर्नुपर्ने बेला आएको छ ।

 

Page 6
युवा ग्यालरी

'खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा

- हिमेश

(काठमाडौं)
यतिबेला अभिनेत्री मनीषा कोइराला साह्रै खुसी छन् । उत्तिकै उत्साहित पनि छिन् । उनी अभिनीत सिरिज ‘हिरामन्डी ः द डाइमन्ड बजार’ आज (मे १) देखि रिलिज भएको छ । यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ । यसबाट चर्चित निर्देशक सञ्जयलीला भन्साली पनि ओटीटीमा डेब्यु गरेका छन् । भारतीय मिडियामा यो सिरिजबारे चारैतर्फ चर्चा छ । मनीषा स्वयंले पनि अलिकति धेरै नै भावुक भएर अन्तर्वार्ता पनि दिइरहेकी छन् । सबैलाई थाहा छ, भन्सालीको बलिउडमा छुट्टै छाप र प्रभाव दुवै छ ।
सबैभन्दा पहिले भन्सालीसँग काम गर्न पाएकैमा मनीषा खुसी छिन् । उनीहरू दुई जनाले केही खासखास फिल्ममा सँगै काम पनि गरेका छन् । जस्तो, ‘१९४२ ः ए लभ स्टोरी’ र ‘खामोसी ः द म्युजिकल’ । त्यसमध्ये खामोसीमा त भन्साली आफैं निर्देशक थिए । यो फिल्म आफैंमा सफल रह्यो । आलोचकले पनि यसलाई मन पाएका थिए । अनि यसमा मनीषाको अभिनयलाई पनि रुचाइएको थियो । सन् १९९६ मा खामोसी रिलिज भएको थियो, अब त यो पनि २८ वर्ष पुरानो कुरा भयो ।
त्यही बेलादेखि मनीषाको मनमा एउटा कुरा थियो, फेरि दोहोर्‍याएर भन्सालीसँग काम गर्ने । तर यो पूरा भयो, धेरै पछि, सन् २०२४ मा आएर । अनुहारभरि हाँसो सजाएर मनीषाले भनेकी छन्, ‘फेरि अर्को काम सँगसँगै गर्न २८ वर्ष नलगाऔं है भन्साली ।’ हिरामन्डीमा उनले कसरी अवसर पाइन् त ? उनले आफैं सुनाएअनुसार, जति बेला भन्सालीले यसबारे कुराकानी गर्न चाहे, त्यतिबेला मनीषा काठमाडौंमा थिइन् । बगैंचातिर आफूलाई व्यस्त राखिरहेको बेला थियो ।
तर जतिबेला भन्सालीको प्रस्ताव सुने, दंग परिन् । उनको प्रगति देखेर मनीषा आफैं खुसी थिइन् । खामोसी बनाएका भन्साली र अहिलेका तिनै भन्सालीमा धेरै फरक छ । यसमा उनको करियरको ग्राफले माथि मात्र चढ्न जानेको छ । मनीषा आफैं पनि अब त्यस्ती रहिनन्, जस्तो खामोसीको बेला थिइन् । खासमा यति धेरै समयपछि यति राम्रो सिरिजमा उत्तिकै राम्रो निर्देशकसँग काम गर्न पाएकोमा मनीषालाई अत्यधिक खुसी लागेको हो ।
उनले साँच्चै भावुक भएर भनेकी छन्,
‘मलाई क्यान्सरले छोएको थियो । त्यो पनि चौथो स्टेज पुगिसकेको थियो । तर म अझै ज्युँदै छु । मेरा लागि त यो दोस्रो जीवन जस्तै हो । मलाई आफू बाँच्ने हो अथवा होइन, थाहा थिएन । न त कति समय बाँच्ने थाहा थियो । अहिले मैले हिरामन्डी जस्तो सिरिजमा काम गर्ने मौका पाएकी छु । उत्तिकै महत्त्वपूर्ण भूमिका पाएको छु । यो त कोही पनि अभिनेताका लागि दोस्रो जीवन हो जस्तै लाग्छ ।’
यसपल्ट हिरामन्डीमा मनीषा खेल्न लागेको भूमिका भने ‘मल्लिका जान’ को हो । यो सिरिजमा उनी मात्र छैनन्, अरू धेरै भूमिमा अरू धेरै अनिनेता अभिनेत्री छन् । जस्तो, सोनाक्षी सिन्हा, सन्जिदा सेख, ऋचा चढ्ढा, अदीति राव हैदरी । मनीषा भन्छिन्, ‘कलाकारका रूपमा सबैलाई राम्रो पटकथामा काम गर्ने इच्छा हुन्छ । हामीलाई राम्रो भूमिका र पटकथा मात्र होइन, उत्तिकै राम्रा ‘फिल्ममेकर’को मूल्य थाहा छ । भन्साली केही राम्रो गर्न कहिल्यै सम्झौता गर्ने खालका होइनन् ।’
हिरामन्डीसँगै अभिनेता फरदिन खानले पनि पुनरागमन रच्दै छन्, त्यो पनि १४ वर्ष लामो समयपछि । फरदीप आफैं पनि भावुक हुने भए नै । यी पछिल्ला १४ वर्षमा फरदिनका जीवनमा धेरैथोक भयो । बलिउडबाटै उनै पूरापूर हराएको स्थितिमा पुगेका थिए । उनलाई धेरैले सम्झन पनि छाडेका थिए । हिरामन्डीमा उनी ‘वाली मोहम्मद’ को भूमिका हुनेछन् । ‘यति धेरै लामो समयपछि पुनरागमन गर्नका लागि यो भूमिका मेरो उमेरको आधारमा पनि सही हो ।’
हिरामन्डीसँग जोडिएका अनेक कथा छन् । ती त्यसै पनि दोहोर्‍याएर सुनिने हुन्छ । अझ यसैबारे सिरिज आउने भएपछि चर्चा चुलिने भयो नै । यो सिरिजलाई पछ्याउने हो भने यसको इतिहास अलिकति भए पनि बुझ्न भने आवश्यक हुन्छ । सिरिजको ‘फर्स्ट लुक’ जारी भइसकेको स्थितिमा धेरैले हिरामन्डीबारे बुझ्न पनि खोजेका छन् । यसका लागि हामी भौगोलिक रूपमा पाकिस्तानको लाहोर जानु पर्ने हुन्छ । अनि समयको आधारमा मुगलकालतिर पनि फर्किनुपर्ने हुन्छ ।
खासमा हिरामन्डी लाहोरमा रहेको ‘रेडलाइट एरिया’ हो । कुनै समय यसलाई शाही मोहल्ला पनि भनिन्थ्यो । जति बेला भारत र पाकिस्तान टुक्रिएका थिएनन्, त्यति बेला यो खुबै चर्चित थियो । भनिन्छ, त्यहाँको कोठामा माया प्रेम मात्रै साटिन्न । त्यहाँ राजनीति पनि हुन्छ । राजनीति भनेपछि धोका हुने भयो नै । मुगलकालमा यहाँ टाढाटाढा देशबाट पनि महिला ल्याइन्थ्यो । त्यहाँ संगीत र नृत्य प्रस्तुत हुन्थ्यो । यो संस्कृतिकै एक भाग जस्तै थियो ।
त्यहाँ नामी राजामहाराजा पुग्थे । समयसँगै हिरामन्डी त्यस्तो रहेन । मुगलकाल समाप्त भएसँगै त्यहाँ ब्रिटिस राज सुरु भयो । हिरामन्डीले त्यसको वास्तविक परिचय र चमक गुमायो । इतिहासले के भन्छ भने त्यो समय मन्त्री रहेका हिरासिंह डोगराबाटै यो ठाउँको नाम जुरेको थियो । उनी सिख राजा रणजित सिंहका मन्त्री थिए । यी मन्त्रीले अन्न राख्ने मन्डी बनाएका थिए । त्यसैले यसको नामै हिरामन्डी भयो । अचेल सूर्य ढल्यो कि यो ‘रेडलाइट एरिया’का रूपमा बदनाम हुन्छ ।

युवा ग्यालरी

नेपाल–बंगलादेश आर्ट फेस्टिभल अर्को साता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालस्थित बंगलादेश दूतावासले आर्ट बंगला फाउन्डेसन ढाका र सिद्धार्थ आर्ट ग्यालेरी काठमाडौंको सहकार्यमा
आर्ट फेस्टिभल गर्ने भएको छ । फेस्टिभल मे ६ देखि १० सम्म
काठमाडौंमा हुनेछ ।
‘फ्रम माउन्टेन्स टु द डेल्टा’ को नारासहित आयोजना हुने फेस्टिभलमा नेपालका ४ र बंगलादेशका ६ कलाकारले सहभागिता जनाउने छन् । नेपालस्थित बंगलादेशी दूतावासले दुई मुलुकबीच सामाजिक, संस्कृति र सभ्यताको अद्वितीय सम्बन्ध रहेको उल्लेख गर्दै फेस्टिभलले त्यसलाई फरक उचाइमा पुर्‍याउने जनाएको छ । साथै, फेस्टिभलका दौरान सांगीतिक कार्यक्रम तथा नेपाली र बंगला नयाँ वर्षको समेत स्वागत गर्ने कार्यक्रम रहेको छ ।

युवा ग्यालरी

श्रमिक दिवस सुरु

- कान्तिपुर संवाददाता

 

सन् १८८९ मा आजकै दिन (मे १) बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन सुरु गरिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेका थिए । अमेरिकाको सिकागो सहरस्थित हेमार्केटमा १८८६ मा भएको आन्दोलनमा पीडित मजदुरहरूको सम्झनास्वरूप श्रमिक दिवस मनाउने निर्णय गरिएको थियो । सिकागो सहरका श्रमिकहरू हरेक दिन आठ/आठ घण्टा काम, आराम र मनोरञ्जनको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलित भएका थिए । आन्दोलनसँगै श्रमिकहरूको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधा राज्यपक्षबाट सम्बोधन हुनुपर्ने मागसमेत उठेको थियो । आन्दोलनमा प्रहरी दमन गरिएपछि केही मजदुरले ज्यान गुमाएका थिए । तर अन्त्यमा श्रमिकहरूकै जित भएको थियो । त्यसैको सम्झनास्वरूप १८८९ मा फ्रान्सको राजधानी पेरिसमा भेला भएका श्रम संगठन र नेताहरूको बैठकले विश्वव्यापी रूपमा श्रमिक दिवस मनाउने निर्णय गरेको हो ।

 

Page 7
अर्थ वाणिज्य

उद्योग—निर्माण ऋणात्मक र व्यापार नबढ्दाखुम्चियो आर्थिक वृद्धिदर

- यज्ञ बञ्जाडे

(काठमाडौं)
उद्योग र निर्माण क्षेत्रमा ऋणात्मक वृद्धि हुनुका साथै थोक तथा खुद्रा व्यापार क्षेत्रको विस्तार सीमान्त हुँदा चालु आर्थिक वर्ष पनि नेपालको आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले आर्थिक वर्ष ०८०/८१ मा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर ३.५४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । यो दातृ निकाय विश्व बैंक,
एसियाली विकास बैंकलगायतले प्रक्षेपण गरेभन्दा केही बढी र सरकारको वार्षिक लक्ष्यभन्दा कम हो ।
सन् २०२४ का लागि विश्व बैंकले ३.३ र एडीबीले ३.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेका छन् । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो । गत आर्थिक वर्ष आधारभूत मूल्यमा २.३१ प्रतिशत आर्थिक वृद्धिदर रहेको संशोधित कार्यालयको अनुमान छ । चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म) को अनुमानित तथ्यांकका आधारमा कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो ।
उपभोक्ता मूल्यमा भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने देखिएको छ । उपभोक्ताको मूल्यमा गत आर्थिक वर्ष ०७९/८० मा आर्थिक वृद्धिदर १.९५ प्रतिशत हुने कार्यालयको संशोधित अनुमान छ । आधारभूत मूल्यमा कर र अनुदान समावेश गरेपछि उपभोक्ता मूल्य आउँछ । यसकारण आधारभूत मूल्यको तुलनामा उपभोक्ता मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदर बढी हुने गर्छ । तर गत वर्ष लक्ष्यको तुलनामा राजस्व संकलन झन्डै १८ प्रतिशतले घटेकाले आधारभूत मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा गणना गरिएको भन्दा बढी देखिएको थियो । तर यस वर्षदेखि भने पुरानै अवस्था देखिन्छ ।
निर्माण र उत्पादनमूलक क्षेत्रको वृद्धिदर ऋणात्मक हुँदा सरकारको लक्ष्यभन्दा कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने देखिएको राष्ट्रिय तंथ्याक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले बताए । ‘पर्यटक आवागमनमा भएको वृद्धिका कारण आवास तथा भोजन सेवाको वृद्धिदर निकै राम्रो छ । विद्युत् आपूर्ति राम्रो भएको र यातायात तथा भण्डारणमा पनि सुधार देखिएको छ,’ उनले भने, ‘यी क्षेत्रको वृद्धिदर दोहोरो अंकको भए पनि निर्माण र उत्पादनमूलक क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको र थोक तथा खुद्रा व्यापार क्षेत्र स्थिर रहँदा लक्ष्यअनुसार आर्थिक वृद्धि हुन सकेन ।’ ऋणात्मक रहेको दुई र स्थिर रहेको एक क्षेत्रबाट मात्र जीडीपीमा करिब २५ प्रतिशत योगदान रहन्छ । ती क्षेत्रमा समस्या ह्ुँदा आर्थिक वृद्धिदर चार प्रतिशतभन्दा कम हुने अनुमान भएको रेग्मीले बताए ।
चालु आर्थिक वर्ष ०८०/८१ मा कृषि क्षेत्रको ३.०५ र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत वृद्धिदर हुने कार्यालयको प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.७६ र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने संशोधित अनुमान छ । धानलगायत बर्खे बालीको उत्पादनमा भएको वृद्धि दलहन, तरकारी तथा नगदे बालीमा भएको वृद्धि तथा पशुपन्छीजन्य उत्पादन (दूध, अन्डा, माछा तथा मासु) मा
भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने प्रारम्भिक अनुमान छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नरहेको तथा आन्तरिक अर्थतन्त्र शिथिल रहेका बेला राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिदरको तथ्यांक यथार्थपरक रहेको अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘यद्यपि हाम्रो जस्तो मुलुकमा ५ प्रतिशतभन्दा कमको आर्थिक वृद्धि प्रभावकारी हुँदैन । यो देखाउनका लागि मात्र हो,’ उनले भने, ‘पर्यटन सेवा, होटल तथा आवास, विद्युत् आपूर्तिलगायत क्षेत्रको विस्तार राम्रो हुँदा यत्तिको वृद्धिदर देखिएको छ । तर अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्र– निर्माण, म्यानुफ्याक्चरिङको वृद्धि ऋणात्मक छ भने व्यापारको स्थिर छ ।’
कार्यालयका अनुसार यस वर्ष विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर १७.४४ प्रतिशत हुने देखिएको छ । केही विद्युत् परियोजनाको उत्पादन थप भएसँगै चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि उल्लेख्य रूपमा वृद्धि हुने कार्यालयको अनुमान छ । आर्थिक वर्ष ०७९/८० मा यस क्षेत्रको वृद्धिदर १९.८९ प्रतिशत रहने संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ११.८९ प्रतिशत हुने अनुमान छ । गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयातमा भएको वृद्धि, पर्यटकको आवागमनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि सुधार हुने कार्यालयले अनुमान गरेको हो । गत आर्थिक वर्ष ०७९/८० मा यस क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत रहने संशोधित अनुमान छ ।
आवास तथा भोजन सेवा क्षेत्रको वृद्धिदर २१.८४ प्रतिशत हुने अनुमान पनि कार्यालयको छ । ‘विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो ।’
यस वर्ष भने निर्माण क्षेत्रको वृद्धि वृद्धिदर २.०७ प्रतिशतले ऋणात्मक हुने देखिएको छ । ‘निर्माण सामग्रीको आयातमा आएको कमी, निर्माण सामग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा संकुचन हुने अनुमान गरिएको हो,’ प्रतिवेदनले भनेको छ, ‘गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर १.१० प्रतिशतले ऋणात्मक रहने संशोधित अनुमान छ ।’
चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने देखिन्छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने कार्यालयले प्रस्ट्याएको छ । ‘अनुमान पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो,’ प्रतिवेदनमा भनिएको छ । थोक तथा खुद्रा व्यापार खासगरी गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धि स्थिर (०.१६ प्रतिशत) देखिएको छ । ‘चालु आर्थिक वर्षमा व्यापारजन्य वस्तुको आयात तथा आन्तरिक उत्पादनमा आएको गिरावटले यस
क्षेत्रको मूल्य अभिवृद्धि नगण्य रूपमा मात्र वृद्धि हुने अनुमान गरिएको हो,’ प्रतिवेदनमा भनिएको छ ।
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष ०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो १ लाख ९४ हजार ८ सय २९ रुपैयाँ बराबर हो । गत वर्ष यस्तो आय प्रतिव्यक्ति १ हजार ३ सय ९९ अमेरिकी डलर थियो ।
गत आर्थिक वर्ष ०७९/८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४ सय ५ अमेरिकी डलर रहने संशोधित अनुमान छ । यस वर्ष कुल जीडीपीको अन्तिम उपभोग खर्च ९२.३८ प्रतिशत हुने कार्यालयको अनुमान छ । गत आर्थिक वर्ष ९२.५९ प्रतिशत खर्च भएको संशोधित अनुमान छ । यसैगरी चालु आर्थिक वर्षमा जीडीपीको ३६.१५ प्रतिशत कुल राष्ट्रिय बचत हुने देखिएको छ । गत आर्थिक वर्ष जीडीपीको ३३.७९ प्रतिशत कुल राष्ट्रिय बचत हुने संशोधित अनुमान छ ।

अर्थ वाणिज्य

जाइकाको सहुलियतपूर्ण ऋणमा बनाइने

- विमल खतिवडा

(काठमाडौं)
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सहुलियतपूर्ण ऋण सहयोगमा तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र सुरुङ निर्माण गरिने भएको छ । यस क्षेत्रमा ट्राफिक जाम धेरै हुने हुँदा विकल्पमा फ्लाइओभर र सुरुङ बनाउन लागिएको हो । यी संरचना निर्माणका लागि जाइकाले पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । केही समयभित्रै जाइका र नेपाल सरकारबीच सम्झौता गर्ने तयारी रहेको सडक विभागले जनाएको छ ।
ऋण सम्झौता भएपछि यसको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पारिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले बताए । ‘यस खण्डमा गुड्ने सवारी साधनको चाप धेरै छ,’ जैसीले भने, ‘त्यसलाई व्यवस्थापन गर्न फ्लाइओभर र सुरुङ बनाउन लागिएको हो ।’ पूर्वसम्भाव्यता अध्ययनअनुसार तीनकुनेबाट मुनिभैरव मन्दिर नजिकसम्म ६ सय ६५ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । मुनिभैरव मन्दिर नजिकैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनिबाट जडीबुटी निस्कने गरी ६ सय १० मिटर दूरीको सुरुङ निर्माण हुनेछ । त्यहाँबाट मनोहरा खोलामा निर्माण भएको नयाँ पुलसम्म जोड्ने गरी करिब २ सय ३८ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । विमानस्थलमुनिबाट सुरुङ बनाउन दिने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक देखिएकाले अहिलेसम्म कुनै समस्या नभएको प्रमुख जैसीले बताए । मुनिभैरवको मन्दिर सुरुङ निर्माणस्थलबाट केही माथि सारिनेछ ।
‘जाइकाले निर्माणमा ऋण सहयोग गर्छु भनिसकेको छ, औपचारिक रूपमा सम्झौता हुन मात्र बाँकी छ,’ जैसीले भने, ‘यही आर्थिक वर्षभित्र ऋण सम्झौता भए आगामी आर्थिक वर्षमा डिजाइनको काम थालिनेछ ।’ डीपीआर गरेपछि लागत र दूरी यकिन हुने उनको भनाइ छ । ‘उपत्यकामा मात्र चल्ने सवारीसाधन नभई यो खण्ड भएर पूर्वका लागि लामा दूरीका सवारीसाधन पनि छुट्ने गरेका छन्,’ उनले भने, ‘त्यहीअनुसार सुरुङ र फ्लाइओभर चार लेनको बनाइनेछ ।’ पूर्वसम्भाव्यता अध्ययन करिब ६ महिनाअघि सकिएको
उनले बताए ।
आयोजना निर्माण अवधि ६ वर्षको हुनेछ । नागरिक उड्डयनले दिएको समय तालिकाअनुसार निर्माणको काम हुनेछ । ‘अहिलेसम्म प्राधिकरणले भनेअनुसार विमानस्थलमुनि सुरुङ निर्माणको काम राति १ बजेबाट बिहान ५ बजेसम्म मात्र हुनेछ,’ उनले भने, ‘रातिमा काम गर्नुपर्ने भएकाले लागत र समय दुवै बढी लाग्ने देखिएको हो ।’ पूर्वसम्भाव्यता अध्ययन गर्न जाइकालाई करिब डेढ वर्ष लागेको थियो । यस खण्डमा फ्लाइओभर र सुरुङ निर्माण गर्ने चर्चा धेरै भए पनि अहिले यसलाई निर्माणमा लैजाने गरी काम भइरहेको प्रमुख जैसीको भनाइ छ ।
सातदोबाटो र एकान्तकुनामा अन्डरपास निर्माणको ठेक्का भएन
सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमा उपत्यकाको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भनेको थियो । अहिलेसम्म ग्वार्कोबाहेक अन्यत्र काम सुरु हुन सकेको छैन । ग्वार्कोमा फ्लाइओभर निर्माण जारी छ । सातदोबाटो र एकान्तकुनामा कलंकीको जस्तै अन्डरपास निर्माण गर्ने भन्दै अध्ययनको काम सकिसकेको छ । अध्ययनअनुसार सातदोबाटोमा बन्ने अन्डरपासको दूरी ५४०.७८ मिटर हुनेछ । अहिले अध्ययनमा कलंकीको जस्तै अन्डरपास निर्माण गर्ने उल्लेख भएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनायो । अध्ययनअनुसार यसको निर्माण लागत ७२ करोड रुपैयाँ हुनेछ, जुन अन्डरपास चार लेनको हुनेछ ।
एकान्तकुनामा पनि अन्डरपास नै निर्माण गर्ने गरी अध्ययन गरिएको छ । यसको दूरी ३ सय मिटर हुनेछ । निर्माणमा ५० करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ । यी दुवै अन्डरपासको ठेक्का इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत गरिने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए । निर्माणमा जान सकिने गरी दुवै खण्डको अध्ययन पूरा गरिएको हो । यो खण्डमा सवारी चाप धेरै हुने भएकाले ट्राफिक जाम कम गराउन भन्दै विकल्पका रूपमा अन्डरपास निर्माण गर्न लागिएको उनको
भनाइ छ ।
नेपाल सरकारले बनाउने भएकाले स्रोत सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालय पठाए पनि अहिलेसम्म स्रोत सुनिश्चितता भएको छैन । नयाँ बानेश्वरको अन्डरपासको पूर्वसम्भाव्यता अध्ययनको काम सकिए पनि फाइनल रिपोर्ट तयार भइसकेको छैन । कलंकीको जस्तै बिजुलीबजारबाट संसद् भवन अगाडिसम्म अन्डरपास बनाउने गरी अध्ययन भए पनि यसमा थप काम अघि बढ्न सकेको छैन ।

Page 8
अर्थ वाणिज्य

दोहोरो कर मुक्ति सम्झौता गर्न बेलायतको आग्रह

- कान्तिपुर संवाददाता

(काठमाडौं)
बेलायतले नेपालसँग दोहोरो कर मुक्ति सम्झौता गर्न आग्रह गरेको छ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन आएका बेलायतका दुई उच्च पदाधिकारीले दोहोरो कर मुक्ति सम्झौताले नेपालमा बेलायती लगानी आकर्षित हुन सहयोग पुग्ने प्रस्ट्याएका हुन् । बेलायती राजाका दक्षिण एसियाका लागि व्यापार आयुक्त हर्जिन्दर काङ र बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का क्षेत्रीय निर्देशक बेन मेलोरले बेलायती लगानी भित्र्याउन दुई महत्त्वपूर्ण सम्झौता हुनुपर्नेमा जोड दिए ।
‘ठूलो लगानी भित्र्याउन त्यहीअनुसारको वातावरण बन्न जरुरी छ,’ लगानी सम्मेलनमा आएका आयुक्त काङले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलगायत नेपालका अन्य उच्च पदाधिकारीसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग भने, ‘नेपाल र बेलायत सरकारबीच दोहोरो कर मुक्ति सम्झौता र द्विपक्षीय लगानी सम्झौता (बीआईए) भएका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण सिर्जना हुन्छ ।’ नेपालमा लगानी गर्न सहज वातावरण बनाउन नेपाल सरकारले कानुन र अध्यादेशद्वारा महत्त्वपूर्ण आर्थिक सुधार गरेको एफसीडीओका क्षेत्रीय निर्देशक मेलोरले उल्लेख गरे । नेपालले विदेशी लगानी भित्र्याउन गरिरहेको प्रयास सकारात्मक रहेको उनको भनाइ छ । ‘नेपाल सरकारको प्रयासहरूको प्रशंसा गर्दछु र नेपाललाई आवश्यक लगानी सुरक्षित गर्न सुनिश्चित गर्न द्रुत कार्यान्वयनलाई प्रोत्साहन गर्दछु,’ उनले भने, ‘त्यसका लागि दोहोरो कर मुक्ति सम्झौता र बीआईए गर्न आवश्यक छ ।’
नेपालले हालसम्म १० मुलुकहरूसँग दोहोरो कर मुक्ति सम्झौता गरिसकेको छ । पछिल्लो पटक बंगलादेशसँग सन् २०१९ मा उक्त सम्झौता गरेको थियो । नेपालले पहिलो पटक नर्वेसँग सन् १९६६ उक्त सम्झौता गरेको हो । भारत, चीन, पाकिस्तान, श्रीलंका, कतार, दक्षिण कोरिया, मोरिसस, थाइल्यान्ड र अस्ट्रियासँग गरिसकेको छ । नेपाल र बेलायतबीच ७ वर्षअघि दोहोरो कर मुक्ति सम्झौता गर्ने भनेर अन्तिम तयारी गरिए पनि रोकिएको थियो । ‘नेपालले अन्य मुलुकहरूसँग पनि उक्त सम्झौता गरेको छ । बेलायतसँग गर्दा दुवै मुलुकलाई फाइदा हुन्छ । नेपालमा बेलायतबाट लगानी आउने वातावरण पनि बन्छ,’ नेपालका लागि बेलायतका राजदूत रब फेनले भने ।
लगानी सम्मेलनमा सरकारले आफ्नो एजेन्डाहरूलाई निरन्तरता दिने देखिएकाले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने बाटो खुलेको राजदूत फेनले प्रस्ट्याए । ‘विदेशी समुदायले माग गरेअनुसार कानुन संशोधन भएका छन् । लगानी सम्मेलनमा सरकारी र विपक्षी दलका नेतासमेत मिलेर संयुक्त रूपमा नेपालमा लगानी गर्न आग्रह गरेका छन् । यसले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश गएको छ,’
उनले भने ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नै आइतबार लगानी सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै विदेशी मुलुकहरूलाई नेपालमा द्विपक्षीय लगानी सम्झौता (बीआईए) गर्न आग्रह गरेका थिए । सरकारले गत चैतमा बीआईएको नमुना ढाँचा स्वीकृत गरेको छ । गत चैत २२ मा बसेको मन्त्रिपरिषद् बैठकले बीआईएको ढाँचा स्वीकृत गर्ने निर्णय गरेको हो । यही निर्णयका आधारमा आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त ढाँचा प्रधानमन्त्रीको कार्यालयबाट प्रमाणीकरण गरिसकेको छ । यससँगै सरकारले हरेक राष्ट्रसँग द्विपक्षीय लगानी सम्झौता गर्न बाटो खुलेको छ ।
यसअघि द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) नीति थियो । सोही नीतिका आधारमा नेपाल सरकारले भारतलगायत ६ वटा राष्ट्रसँग बिप्पा सम्झौता गरिसकेको छ । यद्यपि भारतसँगको बिप्पा सम्झौता कार्यान्वयनमा आएको छैन । बिप्पा सम्झौता राष्ट्रिय हितविपरीत वा त्यसमा राष्ट्रियका धेरै सवालमा चुकेको आरोप लागिरहेको बेला सरकारले त्यसलाई हटाएर बीआईए ल्याएको हो ।
नेपाल कम विकसित मुलुकबाट (एलडीसी) माथि उठ्न र युवा शक्तिलाई देशमै राख्न विकास एवं रोजगारी सिर्जना गर्न निजी क्षेत्रले मात्रै सक्ने एफसीडीओका क्षेत्रीय निर्देशक मेलोरको दाबी छ । स्वदेशी तथा विदेशी प्रत्यक्ष लगानी जुटाउने, पूर्वाधारको स्तरोन्नति, ऊर्जा उपयोग, ठूला व्यवसाय विस्तार र साना तथा मझौला उद्योग फस्टाउने बजार निर्माण गर्न लगानी सम्मेलनले बाटो देखाएको उनले उल्लेख गरे ।
लगानीका लागि दक्षिण एसियाका अन्य मुलुक बंगलादेश, श्रीलंकालगायत अन्य देशभन्दा नेपाल किन महत्त्वपूर्ण छ भन्ने सन्देश नेपालले अन्तर्राष्ट्रिय समुदायलाई दिन सक्नुपर्ने बेलायती राजाका दक्षिण एसियाका लागि व्यापार आयुक्त काङले बताए । ‘एउटा विदेशी नेपालमै किन लगानी गर्न आउनुपर्‍यो ? किन अन्य देशमा नगएर नेपालमै आउनुपर्‍यो ? यसबारे नेपालले लगानीकर्तालाई प्रस्ट पार्नुपर्छ,’ उनले भने । नेपालमा पर्यटन, शिक्षा, प्राविधिक, अन्य औद्योगिकलगायत क्षेत्रमा लगानी गर्न सकिने उनको भनाइ छ ।

अर्थ वाणिज्य

नेपालको निजी क्षेत्रसँग साझेदारी बढाउँदै एडीबी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अन्तर्राष्ट्रिय वित्त संस्था एसियाली विकास बैंक (एडीबी) को दक्षिण, मध्य र पश्चिम एसिया मामिलासम्बन्धी उपाध्यक्ष यिङमिङ याङले नेपाल सरकारका विकास प्राथमिकताहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा उपाध्यक्ष याङले मंगलबार निजी क्षेत्रको विकास र जलवायु परिवर्तनसँगै विपद् जोखिम व्यवस्थापनमा सहयोग जारी राख्ने बताए ।
अर्थमन्त्री वर्षमान पुनसँग पनि उपाध्यक्ष याङले गत शुक्रबार भेट गरेका थिए । यी भेटघाटका क्रममा उनले विशेषतः गरिबीको दर घटाउनेजस्ता नेपालका सामाजिक–आर्थिक प्रगतिको प्रशंसा गर्दै नेपाल र एडीबीबीचको दीर्घकालीन साझेदारीमा जोड दिए । निकट भविष्यमै नेपालका लागि बन्न लागेको ‘कन्ट्री पार्नटरसिप स्ट्राटेजी २०२५–२०२९’ बारे पनि छलफल गरेको एडीबीले जनाएको छ । उक्त रणनीति विश्व बैंकको कन्ट्री पार्टनरसिप फ्रेमवर्कसँगै संयुक्त रूपमा तयार हुने क्रममा छ ।
चारदिने नेपाल भ्रमणका अवसरमा याङले लगानी सम्मेलनमा पनि सहभागिता जनाए । आफ्नो कि–नोट स्पिचमा उनले एडीबीले नेपालमा निजी क्षेत्रसँगको आफ्नो सहकार्यलाई अझै विस्तार गर्न प्रयासरत रहेको उल्लेख गरे । एडीबीले सार्वजनिक–निजी साझेदारीका लागि कारोबारसम्बन्धी परामर्श सेवासँगै एसिया प्यासिफिक प्रोजेक्ट प्रिपरेसन फसिलिटिमार्फत स्रोत उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गर्ने याङको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी पहलका लागि सहुलियतपूर्ण र अनुदानका स्रोत परिचालन गर्नेबारे पनि उनले प्रतिबद्धता जनाए । गत आइतबार मातातीर्थ सबस्टेसन उद्घाटनका क्रममा याङले नेपालको ऊर्जा क्षेत्र विकासमा एडीबीको भूमिकाप्रति गर्व लागेको धारणा व्यक्त गरेका थिए । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका थिए ।

अर्थ वाणिज्य

एक अर्ब लगानीमा फर्च्युन रिसोर्ट

- कान्तिपुर संवाददाता

(काठमाडौं)
एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा भक्तपुरमा ‘फर्च्युन रिसोर्ट एन्ड वेलनेस स्पा’ सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मंगलबार २४ रोपनीमा फैलिएको फर्च्युनको उद्घाटन गरे । स्वदेशीसँगै बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्नेमा मन्त्री भण्डारीको भनाइ छ । ‘निजी होटल–रिसोर्ट निर्माण र सञ्चालन हुँदा पर्यटकीय गन्तव्य बढ्छ । पर्यटन ‘हब’ का रूपमा विकास हुँदा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘यसले नेपालको पर्यटन क्षेत्रमा सघाउँछ । होटल सञ्चालन हुँदा काम गर्ने अवसर प्राप्त हुन्छ, रोजगारी बढ्छ । सँगसँगै आन्तरिक राजस्व पनि वृद्धि हुन्छ ।’
भक्तपुर सांस्कृतिक एवं पर्यटकीय जिल्ला भएकै कारण रिसोर्ट सञ्चालनले पर्यटकलाई धेरै सहज हुने भण्डारीले जनाए । नेपालको आन्तरिक स्रोत र साधनको उपयोग गरेर उद्यमशीलतामार्फत व्यापार घाटा न्यूनीकरण गर्न सकिने उनको
भनाइ छ । काभ्रेपलाञ्चोकको
सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा रहेको रिसोर्ट १४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा छ । भारतको आईटीसी ग्रुप अफ होटल्सअन्तर्गत रहेर सञ्चालनमा आएको रिसोर्टले भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रामा अगाडि बढेको कम्पनीले जनाएको छ ।
भारत बाहिर अन्तर्राष्ट्रिय यात्राको डेब्युमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हर्षित भएको फर्च्युन होटल्सका प्रबन्ध निर्देशक समीर एमसीले बताए । ‘नयाँ आर्थिक वर्ष ०८१/८२ को सुरुवातमा फर्च्युन रिसोर्ट उद्घाटन गरेका छौं । दक्षिण एसिया र नजिकका थप मुलुकमा हाम्रो उपस्थिति बढाउँदै जानेछौं,’ उनले भने, ‘आज भएको उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुंगा हो ।’
सांस्कृतिक सम्पदा एवं प्राकृतिक सौन्दर्यले उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकलाई फर्च्युन पहिलो रोजाइमा पर्ने उनले बताए । सोही कारण सञ्जालको प्रयोग गर्दे फर्च्युन होटल्सको सुविधा नेपालमा पनि ल्याइएको एमसीको दाबी छ । ‘भक्तपुरमा पहिलो रिसोर्ट सुरु गर्दैगर्दा विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा रिसोर्ट सञ्चालन गरिएको छ । यस अवधारणाले नेपाल आउने पर्यटकको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ,’ उनले भने ।
फर्च्युन होटल्ससँग सहकार्य गरी नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउन पाउँदा खुसी लागेको हिलटेक हेल्थ एन्ड होम्स प्रालिका अध्यक्ष कमल जैनले बताए । ‘फर्च्युन होटल्स होटल सञ्जाल मात्र नभई हाम्रा लागि उत्कृष्ट साझेदार हो । फर्च्युन रिसोर्टमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ,’ उनले भने । होटलमा कटेज तथा न्यानो र आधुनिक गरी ६६ वटा कोठा छन् । यसलाई विस्तार गर्दे १५० पुर्‍याइने जनाइएको छ । रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, साउना, स्टिम रुम, जिम, स्विमिङ पुललगायत सुविधा रहेको कम्पनीको दाबी छ । शाकाहारी खानाका पारखीलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्ट बहुउपयोगी हुने जनाइएको छ । रिसोर्टमा ६ सय पाहुना अट्ने हल रहेको पनि कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


सामसङको ग्यालेक्सी
एम५५ फाइभजी
काठमाडौं (कास)– सामसङले सामसङ ग्यालेक्सी एम५५ फाइभजी सार्वजनिक गरेको छ । यसमा सेगमेन्टकै लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिस डिजाइनलगायत विशेषता रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ग्यालेक्सी एम५५ फाइभजीमा आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेसन पाउन सकिने कम्पनीको भनाइ छ । ७.८ एमएम चौडाइका साथ सुपर स्लिक र हल्का वजनले यसको प्रयोगलाई अझै सहज बनाइदिएको कम्पनीले जनाएको छ । ग्यालेक्सी एम५५ फाइभजी हल्का हरियो र डेनिम ब्ल्याक रङमा उपलब्ध छ । ग्यालेक्सी एम५५ फाइभजीको ८/२५६ जीबी संस्करणको मूल्य ४८ हजार ९ सय ९९ र १२/२५६ जीबी संस्करणको मूल्य ५३
हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
एसबीआई बैंक सम्मानित
काठमाडौं (कास)– रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकामा नेपाल एसबीआई बैंक सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा नेपाल एसबीआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रशंसापत्र प्रदान गरेका थिए । आर्थिक वर्ष ०७९/८० भित्र बैंक तथा वित्तीय संस्थामध्ये यस बैंकले बढी विप्रेषण भित्र्याएर योगदान गरेकामा सम्मान प्रदान गरिएको बताइएको छ ।
ग्लोबल आईएमईको ग्लोबल ग्रिन आवास कर्जा
काठमाडौं (कास)– ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ । वातावरणमैत्री गतिविधिलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्यअनुरूप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैंकिङ तथा क्रेडिट कार्डसमेत निःशुल्क जारी गरिनेछ । इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याट खरिद गर्न यो कर्जा लिन सकिने बैंकले जनाएको छ । वातावरणमैत्री उपाय अवलम्बन गर्ने क्रममा विद्यमान भवनलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनको मर्मतसम्भारका लागि समेत उक्त कर्जा उपभोग गर्न सकिने बताइएको छ ।
ग्लोबल आईएमईमा स्विस इन्भेस्टमेन्टको १० मिलियन डलर ऋण लगानी
काठमाडौं (कास)– स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आईएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरे । बैंकले उक्त लगानीलाई कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ । कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने उद्देश्य छ । आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नेपाल स्थित स्विट्जरल्यान्ड दूतावासले यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैंकसाग सहकार्य गरेको जनाएको छ ।

नेपाल–चीन (तिब्बत)
व्यापार मेला सुरु
काठमाडौं (कास)– व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा १७ औं नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार मेला उद्घाटन गरे । वैशाख २२ सम्म सञ्चालन हुने मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएको आयोजकले जनाएको छ । नेपाली कक्षमा नेपालबाट चीन निर्यात हुने करिब ४० प्रकारका निर्यातयोग्य वस्तु राखिएका छन् । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे । ‘चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको छ,’ उनले भने । नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उच्च हिमालय र कठिन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिल्यै पनि बाधाका रूपमा नरहेको बताए । ‘हाम्रा पुर्खाले यी बाधाहरूलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रूपमा लिए । त्यस कठिन समयमा जति बेला यातायातका आधुनिक साधन उपलब्ध थिएनन्,’ उनले भने ।
कन्टेन्ट क्रिएटरलाई अपट्रेन्डलीको सम्मान
काठमाडौं (कास)– ्मार्केटिङ प्लेटफर्म अपट्रेन्डलीले क्रिएटर अनर्स–२०२४ को दोस्रो संस्करण गर्ने भएको छ । अपट्रेन्डलीले यसपटक सोसल मिडियामा जीवनशैली, सौन्दर्य र फेसनसँग जोडिएका देशभरका क्रिएटर (सृजनकर्ता) मध्येबाट उत्कृष्टलाई सम्मान गर्ने भएको हो । यसअघि गत माघमा खानपान तथा रेस्टुरेन्ट शैलीका कन्टेन्ट बनाई फेसबुक, इन्स्टा, युट्युबलगायत सामाजिक सञ्जालमार्फत उत्कृष्ट प्रदर्शन गर्ने देशभरका कन्टेन्ट क्रिएटरमध्ये उत्कृष्ट ७ जनालाई सम्मान गरिएको थियो । सनसिल्कसँगको सहकार्यमा हुन लागेको यस पटकको प्रतियोगिताबारे सोमबार कमलादीस्थित स्काइवाक टावरमा भेला गर्दै अपट्रेन्डलीका सीईओ मनायक कार्कीले यसको औपचारिक घोषणा गरे । आउँदो जेठ ३२ मा प्रतियोगिता हुने उनको भनाइ छ । यस संस्करणमा नेपालमा सौन्दर्य, फेसन तथा जीवनशैलीबारेका सामग्री
सिर्जना गर्ने क्रिएटरलाई सम्मान गरिने सीईओ कार्कीले बताए । ‘हामी क्रिएटर सम्मान पुरस्कार समारोहको दोस्रो संस्करण आयोजना गर्न पाउँदा उत्साहित छौं,’ सीईओ
कार्कीले भने, ‘यो समारोह रचनात्मकता, नवीनता, सौन्दर्य, फेसन र जीवनशैली उद्योगमा दिगो प्रभाव पार्ने व्यक्तिहरूको योगदानको उत्सव हुनेछ ।’

Page 9
समाचार

थापा, ढकाल र श्रेष्ठले पाए विशेष अदालतबाट सफाइ

- कान्तिपुर संवाददाता

(काठमाडौं)
विशेष अदालतले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ मा तत्कालीन कोषाध्यक्ष समेत रहेका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।
पशुपतिको शिवलिंग (ज्योर्तिलिंङ) को गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो । उक्त सुनमा २ केजी ८ सय ९० ग्राम, चाँदी १ केजी २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत गरी १ सय ७ केजी ९२४.७५ ग्राम सुन कायम गरिने उल्लेख गरियो । तर, तोकिएको शर्त र निर्णय बमोजिम सुनको जलहरी बनाइएन । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम मात्रै उल्लेख गरियो । त्यस बेलाको मुल्य अनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको बाकी १० केजी ९ सय ७६ ग्राम सुन सुन रिङ बनाई चढाइएको जिकिर कोषले गर्‍यो । त्यसपछि खोजबिन गर्दा रिङ राखिएको भेटिएन ।
जलहरी बनाएर बाँकी रहेको सुन केही पदाधिकारी र कर्मचारीको मिलेमतोमा गायव पारिएको भन्दै कोषकै केही सदस्यले खोजबिन थाले । तर, कोषले त्यसको विवरण नदिएपनि केही सदस्य र त्यसबारे चासो राख्ने व्यक्तिका तर्फबाट अख्तियारमा उजुरी पर्‍यो । यो विषयमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
महालेखा परीक्षकको कार्यालयले पनि लेखा परीक्षणका क्रममा जलहरी निर्माणमा अनियमितता भएका विषय समेटेर प्रतिवेदन ल्याएको थियो ।
कोषका तत्कालीन सदस्य–सचिव ढकाल र तत्कालीन कोषाध्यक्ष (हालका सदस्य सचिव) थापाले सुनको जलहरी निर्माण समितिको संयोजक तथा पशुपति क्षेत्र विकास कोष संचालक परिषद्का तत्कालीन कोषाध्यक्ष समेतको जिम्मेवारीमा रहेर सुनको ज्ञान नभएका कालीगढमार्फत काम गराएको अभियोगपत्रमा उल्लेख थियो ।

 

Page 10
खेलकुद

विश्वकप टोलीमा फर्किए ऋषभ

- कान्तिपुर संवाददाता

 

दिल्ली (एएफपी)– १६ महिनाअघि डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्तलाई समेट्दै भारतले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अन्तिम टोली घोषणा गरेको छ । पन्तसहित १५ सदस्यीय खेलाडीले जुन १ बाट अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा भारतीय टोलीमा स्थान बनाएका छन् ।
उच्चस्तरको क्रिकेटमा फर्किएयता २६ वर्षे पन्तले राम्रो प्रभाव पारेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ खेलमा ३ सय ९८ रन बनाइसकेका छन् । भेट्रान विकेटकिपर केएल राहुलको स्थानमा पन्तलाई ल्याइएको हो । रोहित शर्माको कप्तानीमा रहने भारतीय टोलीमा उच्च दबाबमा रहेका हार्दिक पाण्ड्ये उपकप्तान रहेका छन् ।
सन् २०२२ को डिसेम्बरमा दिल्ली नजिकै ठूलो दुर्घटनामा परेर बाँचेपछि पन्तले त्यसलाई ‘कुनै चमत्कारभन्दा कम नभएको’ बताएका थिए । उनको मर्सिडिज कार रेलिङमा ठोक्किएर पल्दिँदा आगो लागेको थियो । प्रत्यक्षदर्शीले पन्तलाई कारबाट निकालेर उद्दार गरेका थिए ।
‘जुन हिसाबमा म चढेको कार दुर्घटना भयो, त्यसका बावजुत जीवन पाउँदा म भाग्यमानी ठान्छु,’ पन्तले डिसेम्बरमा भनेका थिए,
‘शारीरिक हिसाबमा भन्ने हो भने पहिलो चरणको उपचार निकै चुनौतीपूर्ण थियो । मलाई धेरै पीडा भइरहेको थियो ।’ उक्त कार दुर्घटनाका कारण उनको दाहिने घुँडाको लिगामेन्ट खराब भएको थियो भने नाडी, एङ्कल र ढाडमा चोट लागेको थियो ।
बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा उनी रिहाबिटेसनका लागि वैशाखी टेकेर नै पुगेका थिए । गत वर्ष उनको अनुपस्थितिमा अस्ट्रेलियाका ओपनर डेविड वार्नरले आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेका थिए । यसै सिजन मैदान फर्किएका पन्तले नै अहिले दिल्लीको नेतृत्व गरिरहेका छन् ।
कार दुर्घटनापछिको पहिलो खेलमै उनले ३२ बलमा ५१ रन बनाएपछि उनलाई दर्शकले उठेर न्यानो अभिवादन गरेका थिए । सन् २०१७ मा ‘डेब्यु’ गरेयता पन्तले भारतबाट टेस्ट, एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा गरी १ सय २९ खेल खेलिसकेका छन् ।
भारतको विश्वकप टोलीको ब्याटिङ विराट कोहली र सूर्यकुमार यादवको जिम्मेवारीमा हुनेछ । ओपनर शुभमन गिललाई चार वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ । एकदिवसीय विश्वकपमा चोटग्रस्त हार्दिक पाण्ड्ये त्यसपछि भारतीय टोलीमा फर्किएका हुन् । आईपीएलमा गुजरात टाइटन्स छाडेर रोहित शर्माको स्थानमा मुम्बईको कप्तान भएयता उनी विवादले घेरिएका छन् । भारतीय टोली ः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्ये (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, शिभम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजभेन्द्र चाहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।

नोकिएलाई दक्षिण अफ्रिकाको समर्थन
जोहानेसबर्ग– एनरिच नोकिएलाई समेट्दै दक्षिण अफ्रिकाले ट्वान्टी–२० विश्वकप
टोली घोषणा गरेको छ । सेप्टेम्बरमा अस्ट्रेलियासँगको शृंखलाका क्रममा ढाडमा चोट बोकेयता नोकिएले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् र अहिले आईपीएलमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् ।
निकै खर्चालु बनेका उनले प्रतिओभर १३.८६ को हिसाबले रन दिँदै ७ विकेट लिएका छन् । तर २०२२ को विश्वकपमा दक्षिण अफ्रिकाको प्रमुख बलर रहेका नोकिएलाई स्तरीय खेलाडी भन्दै प्रशिक्षक रोब वाल्टरले टिममा समावेश गरेको जनाए ।
नोएिकसँगै जेराल्ड कोएट्जी, कागिसो रबाडा र मार्को जोन्सनले दक्षिण अफ्रिकाको तीव्र बलिङ र केशव महाराज, टाब्राइज साम्सी र बियोन फोर्टुइनल स्पिन बलिङ मोर्चा सम्हाल्ने छन् । समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले श्रीलंका, नेदरल्यान्ड्स र बंगलादेशसँग अमेरिकाको न्युयोर्कमा बन्दै गरेको नासाउ काउन्टी इन्टरनेसनल स्टेडियम तथा नेपालसँग समूह चरणको अन्तिम खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा खेल्नेछ ।
दक्षिण अफ्रिकाले यसअघिका सबै आठ ट्वान्टी–२० विश्वकप खेलेको छ, तर दुई पटकमात्र समूह चरण पार गरेको छ । सन् २००९ र २०१४ मा टोली विश्वकप पुगेको थियो । क्विन्टन डी कक र डेविड मिलरको यो पाँचौं र रबाडाको चौथो विश्वकप सहभागिता हुनेछ ।

आर्चर इंग्ल्यान्ड टोलीमा
लन्डन– इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकप उपाधि रक्षा अभियानका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरलाई आफ्नो टोलीमा समावेश गरेको छ । सन् २०१९ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका उनले विभिन्न चोटका कारण नियमित खेल्न सकिरहेका छैनन । दाहिने कुहिनामा लागेको चोटका कारण उनले पछिल्लो एक वर्षमा कुनै प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् ।
जोस बटलरको कप्तानीमा रहने इंग्ल्यान्डको १५ सदस्यीय टोलीमा आर्चरलाई पनि राखिएको छ । ५ वर्षअघि ‘डेब्यु’ गरेयता उनले इंग्ल्यान्डबाट केवल १५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तर आर्चरलाई अझै पनि ‘गेम चेन्जर’ को रूपमा हेरिएको छ ।
बार्बाडोसमै हुर्किएका कारण क्यारेबियन कन्डिसनको जानकार हुने हुनाले पनि आर्चरलाई टिममा राखिएको हुनसक्ने जनाइएको छ । टेस्ट कप्तान बेन स्टोक्स पूर्ण फिट नभएका कारण आफैंले इंग्ल्यान्ड टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

खेलकुद

स्वीकृति नलिएका १५ पदाधिकारीलाई बेलायत जान रोकिने

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवलगायतसँग आज मंगलबार छलफल गरेका छन् ।
एन्फाले सोमबार मात्र २३ खेलाडी र ७ पदाधिकारीलाई बिदाइ गरेको थियो । निर्धारित तालिकाअनुसार नेपाली फुटबल टोली मंगलबार बिहान लन्डन प्रस्थान गर्ने कार्यक्रम थियो । तर भिसा नआएका कारण नेपाली टोली उड्न पाएन ।
भिसा ढिलाइको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव किरण राईले सोमबार रातिसम्म भिसा आउने दाबी गरे । भिसा लिनकै लागि भारतको दिल्लीमा प्रतिनिधि पठाएको पनि उनले जनाए ।
एन्फाले मैत्रीपूर्ण खेलका लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषद्मा पठाएको र सोमबार स्वीकृति दिइएको सदस्य–सचिव टंकलाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
यसबाहेक ५ जना एन्फा भीआईपी र १५ जना अन्य पदाधिकारी सहभागिताको स्वीकृतिलाई परिषदमा पत्र नआएको सदस्यसचिव घिसिङले स्पष्ट पारेका थिए ।
एन्फा महासचिव राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा नलिएको जिकिर गरे । उनले बाँकी २० जना आफ्नै खर्चमा जाने बताएका थिए । तर, एन्फाले उनीहरूको भिसाका लागि बेलायती राजदूतावासमा सिफारिस भने गरेको राईले बताए ।
राष्ट्रिय खेलकुद विकास ऐनअनुसार विदेश जाँदा खेलाडी, पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्यसचिव घिसिङले बताए । सोही बमोजिम अन्य १५ पदाधिकारीहरूले
पनि बेलायत जानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिनुपर्ने निर्णय मन्त्री श्रेष्ठले गरेका छन् । स्वीकृति नलिएसम्म हालका
लागि १५ पदाधिकारीहरू बेलायत जान नपाउने उनले जनाए ।
युवा तथा खेलकुद मन्त्रालयले राखेपबाट स्वीकृति नलिएका एन्फाका १५ पदाधिकारीलाई बेलायत जानबाट रोक्न गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ ।

खेलकुद

महिला हक्कीमा आर्मी च्याम्पियन

- कान्तिपुर संवाददाता

(काठमाडौं)
त्रिभुवन आर्मी क्लबले छैटौं मंगलबार सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।
धुलिखेल खेल मैदानमा भएको फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई ४–१ गोलले हराएर उपाधि जितेको थियो । आर्मीको जितमा सरस्वती तामाङले दुई गोल गरिन् । त्यसमा सीमा खड्का र कमला चन्दले गोल थपे । गण्डकीको एकमात्र गोल सीतामाया बलको नाममा रह्यो ।
खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । गण्डकीकी सीताले १६ औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याइन् । लगत्तै १८ औं मिनेटमा सरस्वतीले गोल थपेर टिमलाई २–१ गोलको अग्रता दिलाइन् ।
त्यसपछि आर्मी हाबी खेलमा २४ औं मिनेटमा कमला र ५७ औं मिनेटमा सीमाले गोल थप्दै उपाधि जिताए । फाइनलमा प्लेयर अफ द म्याच कमला चन्द चुनिन् ।
विजेता आर्मीले एक लाख र उपविजेता गण्डकीले ७५ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो स्थानलाई भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई १–० ले हरायो । सुदूरका लागि २७ औं मिनेटमा बबिता उराँवले गोल गरिन् ।
इमर्जिङ प्लेयर सुदूरपश्चिमकी नमिता एसके चुनिइन् । उत्कृष्ट गोलकिपरमा गण्डकीकी गोमा परियार, उत्कृष्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पाण्डे प्लेयर अफ द टुर्नामेन्ट भइन् । सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती उत्कृष्ट स्कोरर हुन सफल भए । विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगितामा आर्मी, वाग्मती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता थियो ।

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता


पुल्चोक ॅसी’ डिभिजन शीर्षमा
काठमाडौं (कास)– सागर थिङको ह्याट्रिक मदतमा पुल्चोकले मंगलबार सहिद स्मारक लिग ‘सी’ डिभिजनमा ९ खेलाडीमा समेटिएको रानीवनलाई ४–० ले पराजित गरेको छ । यो जितसँगै पुल्चोक अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । टोलीको ५ खेलबाट १२ अंक भएको छ । यस खेलसँगै प्रतियोगितामा पाँचौं चरणको खेल सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सुमन श्रेष्ठले एक गोल गरे । सुमनले पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोलको खाता खोले । सागरले ८२ औं मिनेटमा आफ्नो पहिलो गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको चौथो र पाँचौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । दोस्रो हाफमा रातो कार्डसँगै रानीवनले हिमाञ्चल सिंह र मिलन रेग्मीलाई गुमायो । तालिकामा पुल्चोकसँगै मनोहरको समान १२ अंक छ । पुल्चोक भने गोलअन्तरले अगाडि रहेको हो । रानीवन भने तीन अंकमै सीमित रहेर १२ औं स्थानमा रह्यो ।
किप फिट सर्किट हुने
काठमाडौं (कास)– एनआरएस स्पोटर््स फाउन्डेसनको आयोजनामा योर पिस किप फिट सर्किट २०२४ हुने भएको छ । फाउन्डेसनद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार सर्किट वैशाख २० देखि असोज ११ सम्म हुनेछ । फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले त्यसमा सबैलाई दौड्न प्रेरित गर्न प्रयास रहेको बताए । उनले भने, ‘यो रनिङ प्रशिक्षणको मूल मर्म कुनै पनि उमेरका व्यक्तिलाई दौड्न प्रेरित गर्ने र स्वस्थ समाज निर्माण गर्ने हो ।’ इन–ड्राइभको सहयोगमा हुने यस कार्यक्रममा ४ सय ५० जनाको सहभागिता हुने विश्वास छ । निःशुल्क आठवटा ट्रेनिङ प्वाइन्टमा हुने कार्यक्रममा तिनलाई प्रशिक्षण दिइनेछ । फाउन्डेसनका अनुसार दशरथ रंगशालामा विमला रानामगर, स्वयम्भूमा रमेश सुनुवार, ललितपुरमा राजमान महर्जन, भक्तपुरमा आशाराम गोथे, कीर्तिपुरमा धर्म महर्जन, हेटौंडामा राजाराम पोखरेल, बुटवलमा रामु पाण्डे र पोखरामा सिद्धान्त अधिकारीले प्रशिक्षकको भूमिका निभाउने छन् । कुल ४० लाख रुपैयाँ बजेट रहेको यस कार्यक्रमपछि सम्भावित धावक–धाविका तयागर हुने विश्वास गरिएको छ ।
यमनको ह्याट्रिक
ललितपुर (कास)– कीर्तिपुर नगरपालिका मंगलबार गोदावरीमा भइरहेको प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबलको क्बाटरफाइनलमा पुगेको छ । गोदावरी नगरपालिका–१० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशाला मैदानमा कीर्तिपुरले तारकेश्वर नगरपालिकालाई ५–० ले हराएको थियो । कीर्तिपुरका यमन मर्हजनले ह्याट्रिक गर्दा दुई गोल इन्द्रबहादुर बस्नेतले गरेका थिए । यमनले खेलको नवौं, २५ औं र ४६ औं मिनेटमा गोल गर्दा इन्द्रले ५६ र ७० औं मिनेटमा गोल थपेका थिए । म्यान अफ द म्याच यमनलाई तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जनले ५ हजारसहित पुरस्कृत गरे ।
मिलन र रुपेश भिड्दै
काठमाडौं (कास)– काभ्रेका मिलन लामा र ललितपुर–११ का रुपेश जैसवालले बुधबार नवौं वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताको फाइनल खेल्ने भएका छन् । सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा कडा दबाबका बीच उनीहरू उपाधिसामु पुगेका हुन् । मिलनले सेमिफाइनलमा प्रतिद्वन्द्वी क्षितिज भण्डारीलाई बराबरीमा रोकेर फाइनल तय गरे । यामाहा मोटरसाइकल पुरस्कार जित्ने दाउमा रहेका रुपेशले युवा खेलाडी पुरुषोत्तम सिलवालसँग ब्लिजको दुवैमा बराबरी खेले । सुपर लिगतर्फ आयोजकका सजिन महर्जन र भक्तपुरका निकेन कुसाथा ६.५ अंकसहित पहिलो स्थानमा छन् । सजिनले आशिष फुँयाल र निकेनले सुदीप तामाङविरुद्ध जित पाए । नवीन तण्डुकार, कमल श्रेष्ठ र शैलेन्द्र न्यौपानेको ६–६ अंक छ ।