You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

'डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

- महेश केसी

(रुकुम पश्चिम)
पुर्ख्यौली थातथलो मुसीकोट–१३ को साधनचौर छोडेर अमेरिका जाने रहर पलाएदेखिका १२ वर्षमा सुवास (परिवर्तित नाम) ले तीन पटकको प्रयासमा झन्डै ८६ लाख दलाललाई बुझाइसकेका छन् । तर अझै पनि उनी अमेरिका पुग्ने टुंगो छैन ।
अवैध बाटो (डंकी रुट) हुँदै अमेरिका पुग्न २०६८ भदौमा उनी संगठित मानव तस्करको सम्पर्कमा पुगेका हुन् । पहिलो एजेन्टले उनलाई दुबई हुँदै काजकिस्तान पुर्‍याएर अगाडि बढाउन नसकेपछि फिर्ता गरिदिएका थिए । ‘५ लाख दिएपछि दलालले दुबईसम्म पुर्‍यायो, त्यसपछि १५ लाख लिएर काजकिस्तान पुर्‍यायो, फेरि १० लाख बुझायौं,’ सुवासका बाबुले भने, ‘३० लाख बुझाइसक्दा पनि दलालले काजकिस्तानबाट अगाडि बढाएन, काठमाडौं नै फर्काइदियो ।’
दलाललाई भनेजति रकम बुझाउन नसकेपछि सुवासका बुबाले दाङको जग्गा नै पास गरिदिएको बताए । पहिलो प्रयास असफल भए पनि सुवासको अमेरिका जाने मोह भने अझै भंग भएको छैन । फेरि अर्को दलालमार्फत अमेरिका जान तुनेलो कसे । ‘क्याप्टेन’ नाम बताउने भारतका एक दलालमार्फत फेरि काठमाडौंबाट दुबई–काजकिस्तान हुँदै टर्कीसम्म पुगे । सुवासका बुबाले यहाँसम्मको यात्रामा दलाललाई ३२ लाख बुझाइसकेका थिए । तर यसपटक पनि सुवास काठमाडौं नै फिर्ता हुनुपर्‍यो ।
‘हाम्रो दोस्रो प्रयास पनि सफल भएन । अनि फेरि अर्को दलालमार्फत छोरो अहिले अमेरिकाको यात्रामा छ ।’ उनले अहिलेको दलालसँग अमेरिका पुर्‍याइदिने गरी ६० लाख रुपैयाँमा ‘डिल’ भएको बताए । २४ लाख रुपैयाँ बुझाइसकेका सुवासका बुबालाई यतिबेला छोरो कहाँ पुग्यो भन्नेसम्म थाहा छैन । ‘नामै नसुनेको कुनै एउटा टापु देशमा पुगेको छ भन्ने सुनेको छु,’ सुवासका बुबाले कान्तिपुरसँग भने, ‘तेस्रो दलालले पनि अहिलेसम्म २४ लाख लगिसकेको छ, बाँकी ३६ लाखचाहिँ उतै अमेरिका पुगेपछि बुझाउने सहमति भएको छ ।’
मुसीकोट नगरपालिका–१३ छिवाङस्थित एक परिवारमा पनि यतिबेला अमेरिका सपनाले बेचैनी बढाएको छ । १९ महिनाअघि घरबाट अमेरिका जाने भनेर निस्किएका छोराका लागि साँवा मात्रै ५३ लाख रुपैयाँ खर्च भइसकेको उनकी आमाले सुनाइन् । भनिन्, ‘सयकडा २५ मा लिएको ऋण दिनदिनै उकालो लागिरहेको छ । छोरो अमेरिका पुग्ने कुनै छाँटकाँट छैन । के गर्ने, कसो गर्ने अवस्थामा पुगिसक्यौं ।’
२०७९ असोजमा एक जना दलालले ४० लाखमा अमेरिका पुर्‍याइदिन्छु भनेर ३३ लाख लिएर पनि नपठाएपछि अर्को दलालमार्फत अमेरिका जान भनेर हिँडेको छोरा बाटोमै रहेको उनले बताइन् । ‘पहिलाको दलालबाट काम नभएपछि छोरा घरबाट हिँडेको डेढ वर्षपछि दुबईबाट फर्कियो,’ उनले भनिन् । एक महिनाअघि मात्र काठमाडौंमा भेटिएको अर्को दलालले ६० लाखमा अमेरिका पुर्‍याइदिने बताएपछि छोरो पुनः हिँडेको उनकी आमाले बताइन् । ‘अहिलेको दलाललाई पनि २० लाख रुपैयाँ बुझाइसकेका छौं । छोरो उज्वेकिस्तान पुगेको भन्ने सुनेका छौं, अब त पुग्ला कि,’ उनी आशावादी देखिइन् ।
यसरी अवैध रूपमा अमेरिका जानका लागि लाखौं बुझाएर बिचल्लीमा पर्ने कैयन् छन् । एकातिर अमेरिका जान ज्यानकै जोखिम मोलिने गरिन्छ भने अर्कोतर्फ मोटो रकमको ऋणको भारीले घरपरिवारमा बेचैनी उस्तै छ ।

अनौठो त के छ भने समस्यामा परिरहेका यस्ता परिवारका सदस्यहरू आफ्नो व्यथा भन्न पनि हच्किने गर्छन् । यसरी भन्दा अमेरिका जान एजेन्टलाई बुझाएको रकम फिर्ता नपाइएला वा एजेन्टबाटै ज्यानको जोखिम होला कि भन्ने त्रास उनीहरूमा देखिन्छ ।
दलालमार्फत काठमाडौंबाट दुबई गएर अवैध रूपमा विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका पुग्ने लालसामा रुकुम पूर्व र पश्चिमका अधिकांश गाउँका तन्नेरीहरू फसिरहेका छन् । यसरी पैदल अमेरिका जान हिँडेकामध्ये केहीको बाटोमै मृत्यु भएको छ भने केही अमेरिका पुगेर पनि अलपत्र परेका छन् । अमेरिका पुगेका कतिपय पनि पक्राउपछि डिपोर्ट भएका घटनाहरू त्यस्तै छन् ।
सामान्य खेती–किसानीबाहेक नियमित आम्दानीको स्रोत नभएका यहाँका परिवारको कथा कैयन् घरमा भेटिन्छन् । सिस्ने गाउँपालिका–३ पोखरामा यस्तै अर्को व्यथा भेटियो । २०७९ असारमा तिनै क्याप्टेन नाम बताउने दलाललाई ३५/३५ लाख बुझाएर अमेरिका हिँडेका दाजु र बहिनी दुबई हुँदै स्पेनसम्म पुगेर काठमाडौं फर्कनुपरेको पीडा रहेछ । दुई जनाको गरेर ७० लाख रुपैयाँ खाएर दलाल भागेपछि आफूहरू अलपत्र परेको परिवारका सदस्यले बताए ।
७० लाख डुबेपछि पनि उनीहरूको अमेरिका जाने सपना भने सकिएको छैन । यतिबेला फेरि अर्को दलालको सम्पर्कमा पुगेका रहेछन् । जसले जनही ६० लाख रुपैयाँमा अमेरिका पुर्‍याइदिने भनेपछि बहिनीले २० लाख र दाजुले ४१ लाख बुझाइसकेका रहेछन् । चर्को ब्याजमा ऋण लिएर अमेरिकाको अन्धाधुन्ध यात्रामा हिँडेका उनीहरू कथंकदाचित अमेरिका पुगिहाले पनि त्यो बेलासम्म साँवा मात्रै एक/एक करोड पुग्ने अनुमान परिवारको छ । त्यसको ब्याजसमेत थपिँदा कहिलेसम्म तिरिसक्ने हो भन्ने चिन्ता उस्तै देखिन्छ ।
अमेरिकाको अनिश्चित यात्रामा लाखौं रकम फसाएका परिवारहरू न त खुलेर यस विषयमा बोल्न चाहन्छन्, न उनीहरूले न्यायको पहल नै गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज भट्टराई अमेरिका पुर्‍याइदिने भनेर रकम लेनदेन भएको बारे सम्बन्धित प्रहरी–प्रशासनमा कुनै उजुरी पर्ने नगरेको बताउँछन् । ‘यस प्रकारका हल्ला सुनिन्छन् ।
तर अहिलेसम्म कुनै उजुरी आएको मेरो जानकारीमा छैन,’ उनले भने, ‘उजुरी आएमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौं नै ।’

मुख्य पृष्ठ

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

- गंगा बीसी

(काठमाडौं)
सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी दलहरू एकमत भएका छन् । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको विषयलाई लिएर शुक्रबार छलफलमा जुटेका कांग्रेस, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादीले तत्काल छानबिन समिति बनाउनुपर्ने अडान लिएका हुन् ।
यसअघि प्रमुख प्रतिपक्ष कांग्रेसले मात्र गृहमन्त्री लामिछानेको संलग्नता र कारबाही सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्दै आएकामा जसपा, राप्रपा र लोसपा पनि एक ठाउँमा उभिएपछि संसदीय छानबिन समिति बनाउन सत्तापक्षलाई दबाब परेको छ ।
विपक्षी दलहरूबीच शुक्रबार नयाँ बानेश्वरमा भएको बैठकमा सहकारीको रकम हिनामिनामा संसदीय छानबिन समिति बनाउनुपर्नेमा सबैको अडान रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘हजारौं सर्वसाधारणको सहकारीको रकम हिनामिनामा संसदीय छानबिन समिति गठनमा विपक्षी दलले बटमलाइन बनाउने सहमति गरेका छौं’ उनले भने, ‘अब विपक्षी दलहरू संसदीय छानबिन समिति गठन नभएसम्म एक ठाउँमा उभिनेछौं ।’
राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणाले सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न भएको उल्लेख गर्दै त्यसको छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरू एकै ठाउँमा रहेको बताए । ‘विभिन्न सहकारीमा भएको ठगीमा गृहमन्त्री लामिछानेसहित अरू संलग्नहरूको छानबिन गर्न संसदीय समिति गठन गर्नैपर्छ भन्नेमा हामीहरू एकमत भएका छौं’ उनले भने ।
पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताए । ‘गृहमन्त्री शक्तिमा भएकाले त्यसउपर भइरहेको छानबिनमा अनुचित प्रभाव पर्न सक्छ, त्यसैले संसदीय छानबिन नै आवश्यक छ,’ उनले भने । सत्ता र शक्तिमा हुनेहरू छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरू छानबिनमा आउने गरी समिति बन्न नहुने महतले बताए ।

कांग्रेससहित विपक्षी दलको माग र संसद् सुचारु गर्ने विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार ‘निर्णायक’ वार्ता गर्ने माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘प्रधानमन्त्रीज्यूले सरकारका तर्फबाट शनिबार कांग्रेससँग निर्णायक वार्ता गर्नुहुनेछ’ उनले भने, ‘कांग्रेसले पनि मेरो गोरुको बाह्रै टक्का गर्‍यो भने सहमति निस्कँदैन, केही लचिलो भएर समाधान निकाल्नुपर्छ ।’ पाण्डेले आफूमाथि लागेको आरोपबारे गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले जेठ ७ मा (सोमबार)
संसद्बाट विश्वासको मत लिने कार्यतालिका भएकाले कांग्रेससित निर्णायक वार्ता गर्न लागेका हुन् । आइतबार संसद्को बैठक बस्ने बेलासम्म सहमति नभए सोमबार विश्वासको मत लिने कार्यतालिका प्रभावित हुन सक्नेछ । जसपा नेपालले सरकार छाडेकाले दाहालले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री दाहालले शुक्रबारै अपराह्न कांग्रेससँग वार्ताको तयारी गरेका थिए तर उनलाई दाँतको उपचार गर्न जान परेकाले बैठक शनिबारलाई सारिएको हो ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पनि सहकारीमा भएको रकम हिनामिनामा संसदीय छानबिन समिति बनाउनुपर्ने निर्णय गरेको छ । ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटना सार्वजनिक भइरहेका छन्, यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ’ समाजवादीको निर्णयमा भनिएको छ, ‘यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ ।’
दलहरूबीच संसद् सुचारु गर्ने विषयमा सहमति नभएपछि कांग्रेसले शुक्रबारको बैठक स्थगित गर्न माग गरेको थियो । बैठक सञ्चालनबारे सभामुख देवराज घिमिरे र प्रधानमन्त्री दाहालबीच छलफल भएपछि दलहरूबीच सहमति जुटाउने प्रयास भएको थियो । बिहीबार सभामुख देवराज घिमिरेले कांग्रेसको अवरोधबीच गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि दुई पक्षका सांसदबीच धकेलाधकेल भएको थियो ।
कांग्रेसले सभामुख घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले बिहीबार सभामुखले विपक्षीको अवरोधबीच सदन सञ्चालन गर्न खोजेकामा आपत्ति जनाएको छ । बैठकले सरकार र सत्तापक्षलाई जनहितविरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय पनि गरेको कांग्रेस प्रमुख सचेतक लेखकले जानकारी दिए ।
‘संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदासमेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ’ बैठकको निर्णयमा भनिएको छ, ‘संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्दछ । तटस्थताका लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पदसमेत स्थगित गर्ने परम्परा छ । सभामुख सिंगो सदनको सभामुख हुनुपर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।’
एमालेले भने कांग्रेस सांसदले असभ्य व्यवहार प्रदर्शन गरेको आरोप लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा कांग्रेसले असभ्य व्यवहार देखाएको बताए । बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उनको भनाइ थियो । अध्यक्ष ओलीले शुक्रबार त्यसबारेमा संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए ।
‘भिडन्त त भएन । कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने ? यो सभ्य खालको व्यवहार भएन’ उनले भने । अध्यक्ष ओलीले कांग्रेस सांसदहरूले सरकारबाट हटाइदिएको आरोपमा आफूमाथि रिस देखाउँदै असभ्य व्यवहार गरेको दाबी गरे ।
राष्ट्रिय सभा बैठक शुक्रबार कांग्रेस सांसदले सहकारीमा भएको ठगीमा संसदीय छानबिनको माग गर्दै विरोध जनाएपछि स्थगित भयो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रिया अघि बढाउन नसकिएको भन्दै सभालाई सहज बनाउन सांसदहरूलाई आग्रह गरेका थिए ।
उनले सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापनसमेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरू समेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रूपमा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे । राष्ट्रिय सभाको अर्को बैठक आइतबार दिउँसो सवा एक बजे बस्ने कार्यतालिका छ ।

मुख्य पृष्ठ

टिप्ताला पुगे गाडी

- आनन्द गौतम

(ताप्लेजुङ)
कोशी प्रदेशबाट ताप्लेजुङ हुँदै सवारीसाधन पहिलोपटक ५१ सय मिटर उचाइमा रहेको चीनको सिमाना टिप्ताला पुगेका छन् । दुई एक्स्काभेटर र एक जना ट्र्याक्टर चालक शुक्रबार दिउँसो द्विदेशीय सिमानामा पुगेका हुन् । ४४ करोडमा सडक निर्माणको जिम्मा पाएको एसबीए एलाइट कम्पनीले २०७४ फागुनदेखि काम थालेको थियो । निर्माण सुरु गरेको ६ वर्षपछि कम्पनीले ट्र्याक खोल्ने र मर्मतसमेत गरी ५७ किमि सडक निर्माणको काम पूरा गरेको हो ।
उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख सुदर्शन कार्कीले टिप्तालामा गाडी पुगेपछि ठेक्का सकिएको बताए ।

‘अब तमोर करिडोरको जस्तै दुई लेनको सडक बनाउनका लागि ठेक्का खुलाउँछौं,’ उनले थपे, ‘अबको चार/पाँच वर्षमा सिमानासम्मकै दुई लेनको सडक निर्माण हुन्छ ।’ ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिप्ताला भन्ज्याङको दूरी ८५ किमि छ । आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार अहिले निर्माण भएको सडकमा ट्र्याक्टर सदरमुकाम फुङलिङबाट सिमानासम्मै पुग्छ । उनले अन्य सवारी भने लेलेप र ओलाङचुङगोला जोड्ने सुकेपानीको तमोर नदीमा तार्न नसकिने बताए ।
सडक निर्माणमा द्विदेशीय सिमाना नजिकैको बस्ती ओलाङचुङगोलावासीको पनि महत्त्वपूर्ण योगदान छ । ओलाङचुङगोलामा जन्मेर बाहिर रहेकाहरूले सडक निर्माणका लागि दुई करोडभन्दा बढी रकम संकलन गरेर सिमानादेखि बस्तीसम्मको २४ किमि सडक खनेका थिए । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले भने, ‘स्थानीयले सुरुवात गरेको १० वर्षपछि आफ्नै देशबाट सवारी पुर्‍याएर सपना साकार बनायौं ।’
उत्तर दक्षिण सडक योजनाका तत्कालीन आयोजना प्रमुख (सडक विभागका सहसचिव) कुवेर नेपाली तुलनात्मक रूपमा कम लागतमा निर्माण गरिएको सडक भएको बताउँछन् ।
भने, ‘यो सडक निर्माणमा चीनबाट पनि मेसिन ल्याएर खन्ने अभ्यास गरियो । छोटो दूरीको पनि छ र अरू सडकको तुलनामा कम लागतको सडक पनि हो ।’
तमोर नदीको उद्गमस्थल समेत रहेको टिप्ताला भन्ज्याङदेखि तमोरको किनारै किनार धनकुटाको मूलघाट, भेडेटार हुॅदै विराटनगरको रानी भन्सारसम्मको दूरी करिब तीन सय मिटर रहेको सडक कार्यालयले जनाएको छ । त्यसैले यो सडक उत्तरतर्फको सबैभन्दा छोटो दूरीको सडक भएको सडक कार्यालयको दाबी छ ।

Page 2
म्यागेजिन

'नाम त मेरो दिलबहादुर हो’

- कान्तिपुर संवाददाता

 

नेपाल र इजरायलबीच सन् १९६० को जुन १ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहँदै आएको छ । नेपालीहरू इजरायलमा काम गर्न र पढ्न जान थालेका छन् भने इजरायलबाट भूकम्प र कोभिड महामारीका बेला नेपाललाई सहयोग पनि प्राप्त भएको छ । हाल नेपालका लागि इजरायली राजदूत हनान गोदर दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्न क्रियाशील छन् । सन् २०११ देखि २०१४ सम्म नेपालमा पहिलो कार्यकाल राजदूत भएर आएका गोदरले २०२० मा दोस्रो पटक राजदूतको जिम्मेवारी सम्हालेका हुन् । नेपालमा लामो समय बिताएका राजदूत गोदरसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलोपटक नेपाल कहिले आउनुभयो ?
म सन् २०११ मा पहिलोपटक नेपालमा आएको थिएँ । सन् २०११ को नेपाल र अहिलेको नेपालमा धेरै भिन्नता छ । यसबीचमा मैले धेरै भिन्नता देखें ।

नेपालमा कस्तो परिवर्तन देख्नुभयो ?
तपाईं नेपालमै भइरहेका कारण यहाँ भएका परिवर्तनबारे खासै थाहा पाउनुभएको छैन । तर म बाहिरबाट आएको हुनाले पहिलोपटक नेपाल आउँदा र अहिले धेरै फरक देखेको छु । केही परिवर्तन साना छन्, तर केही ठूला परिवर्तन भएका छन् । अहिले २४ घण्टा नै विद्युत् आउँछ । त्यसबेला हामीले लोडसेडिङको तालिका हेरेर कति बेला बत्ती आउँछ र जान्छ भनेर कुर्नुपर्थ्यो । तालिकामा १६ घण्टा लोडसेडिङका बारेमा कहिले बिहान त कहिले दिउँसो र बेलुकी बत्ती जाने सूची हेर्नुपर्थ्यो । त्यो अहिले सकिएको छ । अर्को परिवर्तन भनेको मानिसको औसत आयु हो । तपार्इंले याद नगरेको हुन सक्छ । १० वर्षअघि नेपालीको औसत आयु ६७ वर्ष थियो, जुन अहिले बढेर ७१ पुगेको छ । एक दशकमै चार वर्ष औसत आयु उमेर बढेको छ । यो नाटकीय छ । म पछिल्लो पटक नेपालमा हुँदा साक्षरता ६६ प्रतिशत थियो । अहिले ८५ प्रतिशत पुगेको छ । यी नाटकीय परिवर्तन हो । अर्को उदाहरण, १२ वर्षअघि एलएलसी थियो । जसलाई हामीले आइरन गेट मान्थ्यौं । तर अहिले सबैले १२ कक्षा पढेका हुन्छन् । कलेजहरू धेरै छन् । ती कलेजमा ५० प्रतिशतभन्दा बढी छात्रा पढ्छन् । के तपार्इंले त्यो याद गर्नुभएको छ ? एक दशकअघि नेपालमा त्यस्तो थिएन । म नेपालमा पछिल्लो एक दशकमा भएको परिवर्तनबारे धेरै उदाहरण दिन सक्छु ।

पहिलोपटक नेपाल आउँदाको अनुभव कस्तो रह्यो ?
बाहिरबाट पहिलोपटक नेपाल आउने सबै यहाँको सुन्दरता देखेर चकित हुन्छन् । नेपालको सुन्दरता, संस्कृति, परिवेशले गर्दा सबैलाई मोहित बनाउँछ । नेपाललाई बुझ्नका लागि केही समय लाग्छ । तर यहाँको विविधतालाई आकर्षित गर्छ र सबैलाई आनन्द दिन्छ ।

कामका सिलसिलमा धेरै नेपालीसँग भेटघाट गर्नुभयो । नेपालीहरू कस्तो पाउनुभयो ?
नेपालीहरू असाध्यै दयालु छन् । नम्र बोल्छन्, अतिथिलाई सत्कार गर्छन् । अरुलाई स्वागत गर्दा रमाउँछन् । बोल्न र व्याख्या गर्न चाहन्छन् । नेपालीहरू आफ्नो देश, संस्कृति, प्रकृति, भाषा, संगीतलगायतका विषयमा गर्व गर्छन् ।

नेपालको मौसम कस्तो लाग्यो ?
नेपालको हावापानी निकै आनन्दायी छ । वसन्त ऋतु उत्कृष्ट छ, शरद लोभलाग्दो छ । नेपालमा ७० मिटरदेखि ८ हजार ४ सय ४८.८६ मिटर उचाइका भूभाग छन् । यसको मतलब एकै समयमा कतै हिउँ र अत्यन्त गर्मी हुन्छ । त्यसैले नेपालको हावापानीबारेमा कुरा गर्न गाह्रो पनि छ । तर जलवायु परिवर्तनले केही भइरहेको छ तर त्यो के हुन्छ भन्ने थाहा हुन्न । म जलवायु परिवर्तनसम्बन्धी विज्ञ त होइन । तर हामीले यसबारेमा चिन्ता लिनुपर्छ । अनावृष्टि र अतिवृष्टि, डरलाग्दो हावाहुरी र तापक्रममा निकै उतारचढाव हुन थालेको छ । साथमा प्रदूषण बढेको छ । एक दशकअघि म काठमाडौं आउँदा आकाश खुला र रमाइलो देखिन्थ्यो । तर प्रदूषणका कारण अहिले खुलेको आकाश देख्न गाह्रो हुन थालेको छ । मैले प्लास्टिक बालेको पनि देखेको छु । त्यसले गर्दा श्वास फेर्ने हावामा समस्या हुन्छ । त्यसमा पनि बालबच्चाहरूलाई बढी असर गर्छ । प्यालस्टिक बाल्नु हुन्न । तपाईंले इजरायलमा हेर्नुभयो भने आकाश खुला हुन्छ ।

नेपाली खानाको स्वाद लिनुभएको छ ? मन पर्ने खाना कुन हो ?
पूर्व, पश्चिम, उत्तर र दक्षिण जता गए पनि दालभातले २४ सै घण्टाका लागि शक्ति दिन्छ । तर मलाई अलि बढी मसालेदार लाग्छ । मलाई नेपालका खानाहरू अलि बढी मसालेदार लाग्छन् । मःमचाहिँ ठीक लाग्छ । मःम धेरै स्वादिलो लाग्छ । तपाईंले मुस्ताङको आलु खानुभयो भने त्यो निकै स्वादिलो हुन्छ । सानो तर निकै स्वादिलो । खानापछि डिजटका रूपमा मलाई जेरी पनि मनपर्छ ।

नेपाली चाडपर्व मनाउनुभएको छ ? कुन चाड मन पर्‍यो ?
म नेपाली चाडपर्व मनाउँछु । केही दिनअघि मात्र म वर्षाका लागि प्रार्थना गर्न इन्द्रयात्रामा सहभागी भएको थिएँ । तपार्इंले इन्द्र भगवान्सँग राम्रो सम्बन्ध बनाउन चाहन्नुहुन्छ भने इन्द्रयात्रामा प्रार्थना गर्नुपर्छ । म इन्द्रदहमा पनि प्रार्थना गर्न गएको छु । रातो मच्छिन्द्रनाथको जात्रामा पनि गएको छु । त्यसका साथै म दसैं, तिहार र होलीलगायत सम्पूर्ण चाडपर्व मनाउँछु । नेपालमा ७३ दिन सार्वजनिक बिदा छ । म शिवरात्रिका दिन पशुपतिमा गएको छु । नेपालमा हरेक दिनजस्तो चाडपर्व हुन्छन् । मेरा लागि नेपालका हरेक चाडपर्व विशेष छन् । तर नेपालमा चाडपर्वका बिदाचाहिँ अलि बढी भएको जस्तो लाग्छ ।

तपार्इंले नेपाली राष्ट्रिय गानलाई हिब्रु भाषामा अनुवाद गर्नुभएको छ । नेपाली कसरी बोल्न सिक्नुभयो र अनुवाद गर्ने चाहना
कसरी आयो ?
म पहिलो कार्यकालका लागि २०११ मा नेपाल आउँदा भाषा शिक्षकबाट नेपाली सिकेको हुँ । उहाँको नाम गोपाल हो । उहाँको घर ललितपुरमा थियो । उहाँले मलाई नेपाली नाम पनि दिनुभयो । मेरो नेपाली नाम दिलबहादुर हो । तर म अझै नेपालीमा पूर्ण छैन, अझै पढिरहेकै छु । किनकि शब्दहरू केही प्रस्ट छैनन् । भोलिको अर्को दिनलाई पर्सि भनिन्छ र तरकारी खानेकुरालाई फर्सी भनिन्छ । पर्सि र फर्सीमा झुकिन्छु । म जब पर्सिको विषयमा सोध्न चाहन्छु, फर्सी भन्न आउँछ । जसले गर्दा मलाई अलमल्याउँछ । नेपाली राष्ट्रिय गान विशेष छ । मैले नेपाली राष्ट्रिय गानको रचना गर्ने व्यक्ति व्याकुल माइलालाई पनि भेटें । उहाँसँग राम्रो कुराकानी भयो र हिब्रु भाषामा अनुवाद गरियो । मेरो जानकारीमा आएअनुसार नेपाली राष्ट्रिय गान नेपाली, अंग्रेजी र हिब्रु भाषामा छ । मलाई अचम्म लाग्छ, नेपालीले नेपालको राष्ट्रिय गान पढेको पाइनँ । एक पटक
पढ्दा हुन्छ । पहिलो लाइनमै छ, ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली... ।’ यसले ठूलो सन्देश दिन्छ । सय जाति–प्रजातिका व्यक्तिहरू एउटै मालामा बनेर मिलेर बसेका छन् । यसले संसारको १९३ मुलुकलाई पनि फरक–फरक भए पनि एकै स्थानमा मिलेर बस्नका लागि सन्देश दिन्छ । सबै मिलेर बस्नका लागि नेपालको राष्ट्रिय गानले प्रेरणा दिन्छ, त्यही भएर पनि मैले हिब्रुमा अनुवाद गरेको हुँ ।

मन पर्ने नेपाली गीत–संगीत कुन हो ?
मलाई एड्रियन प्रधानको ‘यो मन त मेरो नेपाली हो...’ बोलको गीत मन पर्छ । यो गीत अत्यन्तै उत्कृष्ट छ । यो विदेशमा बस्ने नेपालीका लागि राष्ट्रिय गानजस्तै बनेको छ । जब तपाईं बाहिर जानुहुन्छ, यो गीतले सधैं देशभक्तिको भावना उजागर गर्छ । यसका साथै मलाई नेपाली राष्ट्रिय गानसहित अन्य समकालीन गीतहरू मन पर्छन् ।

नेपाली साहित्यका विषयमा तपार्इंलाई के थाहा छ ?
मैले बुझेसम्म नेपाली किताबहरू पढ्ने गरेको छु । साथमा अनुवाद गरेका पुस्तकहरू पढेको छु । मैले केही दिनअघि मात्र ‘हिटलर र यहुदी’ पुस्तक पढेको थिएँ । उक्त पुस्तक बीपी कोइरालाले लेखेका हुन् । यसमा यात्राको कथा छ । मुम्बईबाट पानीजहाजमा रोम पुगेको, बेलायत गएको लगायत स्थान घुमेको पढ्न सकिन्छ । यो कथा र डायरीको मिलन हो । मलाई पढ्दा मज्जा आयो र यो पुस्तक अरुलाई पनि पढ्न आग्रह गर्छु ।

तपाईंले नेपाली फिल्म हेर्नुभएको छ ?
केही नेपाली फिल्म हेरेको छु । उक्त क्षेत्रमा मेरा केही साथीहरू छन् । महापुरुष फिल्म हेरें । यो निकै उत्कृष्ट लाग्यो । सबटाइटलमा मैले त्यो फिल्म हेरें र मन छुने किसिमको लाग्यो ।

नेपालका कुन–कुन स्थान घुम्नुभएको छ र कुन स्थान मन पर्‍यो ?
मलाई ललितपुरमा रहेको कोन्ज्योसोम उत्कृष्ट स्थान लाग्यो । यो करिब २ हजार ८ सय मिटरको उचाइमा छ । त्यहाँबाट देखिने दृश्य निकै राम्रो छ । म काठमाडौं उपत्यकाको वरिपरि सबै क्षेत्रमा घुमेको छु । शिवपुरी, फुल्चोकी, साँखु, जामा चो, काष्ठमण्डप, भक्तपुर दरबारस्क्वायर क्षेत्र, पाटन दरबार क्षेत्रलगायत स्थानमा घुमेको छु । साथै, म लाङटाङ क्षेत्र घुमेको छु । यो धार्मिक क्षेत्र हो । त्यहाँ गोसाइँकुण्ड छ । म घुमेको अर्को धार्मिक स्थान मुक्तिनाथ हो । त्यो कालीगण्डकीको उद्गम स्थान हो । त्यहाँ म परिवारसहित गएको थिएँ । मुस्ताङबारे रोमाञ्चक कुरा के हो भने, त्यो अन्नपूर्ण हिमालको उत्तरतर्फ पर्छ, जस कारणले गर्दा त्यहाँ वर्षा हुन्न । म जनकपुर, झापा, इलाम, पोखरालगायतका स्थान पनि घुमेको छु । मलाई नेपालका विभिन्न स्थान घुम्दा मज्जा आउँछ । मलाई रारा जान मन लागेको छ । मलाई मन पर्ने स्थानको रूपमा भन्न सकिन्न, त्यो भन्न गाह्रो हुन्छ । त्यो भनेको तपाईंलाई गोलभेडा मन पर्छ कि खर्बुजा मन पर्छ भन्ने हो । कुनै दिन मलाई गोलभेडा मन पर्छ भने कुनै दिन खर्बुजा मन पर्छ ।

नेपालको कलासंस्कृति कस्तो लाग्छ ?
नेपालीले आफ्ना विषयमा खासै प्रशंसा गरेको पाइँदैन । तर नेपालमा धेरै महत्त्वपूर्ण कुरा छन् । यहाँको समाज, संस्कृति, कला, जनताको व्यवहार, राम्रो मौसम आदि नेपालका सम्पत्ति हुन् । नेपालीलाई म देशमै बसेर आफ्नो घरलाई सुन्दर बनाउन आग्रह गर्न चाहन्छु । धेरै नेपाली विदेशमा हुनुहुन्छ, आशा गर्छु उहाँहरू नेपालमा फर्कनुहुन्छ । आफैंले परिवर्तन गर्नुहोस् । अरूले तपाईंका लागि केही गरिदिन्न, आफ्ना लागि आफैंले गर्ने हो ।

 

Page 3
समाचार

गर्मीसँगै तराईमा 'लू’

- विद्या राई

(काठमाडौं)
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कतिपय स्टेसनमा
तापक्रम ४० डिग्रीभन्दा माथि पुगेसँगै तराईका जिल्लामा तातो हावाको लहर अर्थात ‘लू’ चल्न थालेको छ । सरकारसँग यसबाट बच्ने पूर्वतयारी तथा प्रतिकार्यको व्यवस्था भने केही छैन ।
२०७४ सालमा सरकारले ल्याएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले लूलाई विपद् मानेको छ । तर, सरकारसँग मापदण्ड र यसले पुर्‍याउने क्षतिबारे यकिन तथ्यांक छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले विपद् ऐन आइसकेपछि लू विपद् हो भन्नेमा एकमत भए पनि कति तापक्रम पुग्नुलाई लू मान्ने भन्ने यकिन मापदण्ड नभएको बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार भारतका समथर मैदानी क्षेत्रमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी र पहाडी क्षेत्रका लागि ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम पुग्नुलाई लू भन्ने गरिन्छ । नेपालमा लूले पारेको प्रभावबारे तथ्यांक नभएको भने होइन । संयुक्त राष्ट्र संघको विपद् जोखिम न्यूनीकरण कार्यालयको डेसिन्भेन्टर डटनेटमा उपलब्ध तथ्यांकअनुसार २०२९ जेठ २४ देखि २०६९ भदौ २ सम्म २३ जिल्लामा ४९ वटा लूका घटना भएका थिए । जसबाट ४५ जनाको मृत्यु भएको थियो । २० जना घाइते भएका थिए ।
२ सय १० जना यसबाट प्रत्यक्ष प्रभावित भएका थिए भने ३ सय ८१ जना अप्रत्यक्ष प्रभावित भए । धनुषाका २५० पशुचौपाया नष्ट भए । जुन महिनामा सबैभन्दा धेरै २७ वटा लूका घटना भएका थिए । सो तथ्यांकअनुसार नेपालमा लूको प्रभाव फेब्रुअरीबाट सुरु भएर अगस्टसम्म देखिएको छ । ‘डेसिन्भेन्टरले यसपछिको तथ्यांक लिनै छाड्यो,’ तातो हावाको लहर लुको प्रभाव र पूर्वतयारी विषयमा महाशाखाले बिहीबार राखेको विपद् संवाद कार्यक्रममा उपसचिव शर्माले भने, ‘नेपालको विपद् पोर्टलहरू हेर्दा त्यसपछिको तथ्यांक भेटिँदैन ।’
बिहीबार नै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका आठ जिल्लामा ४० डिग्री तापक्रम मापन गरिएको थियो । तत्काल वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पश्चिमतर्फ वर्षा गराउने बादल नदेखिएकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको उनले बताइन् । तीन दिनयता काठमाडौं उपत्यकाको तापक्रम पनि ३१ देखि ३३ डिग्री हाराहारी मापन गरिएको छ । नेपालमा हालसम्म सबैभन्दा बढी सन् १९९५ जुन १६ मा ४६.४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीका अनुसार तापक्रम बढ्नेबित्तिकै शरीरमा पसिना आउने, पानीको कमी हुने, सास फर्ने गाह्रो हुने, रगत जम्ने, घाँटीमा समस्या हुने हुन्छ । आँखा र छालामा समस्या बढेर जान्छन् । स्वास्थ्य अवस्था बिग्रिएर ‘हिट स्ट्रोक’ भएर मानिसको तत्कालै मृत्यु हुन सक्ने वा दीर्घकालीन रोगले असर पार्ने भएकाले यसबारे पर्याप्त अध्ययन र तथ्यांकको अभाव रहेको उनले बताए । अहिलेसम्म लूकै स्वास्थ्य असर भनेर प्रत्यक्ष अध्ययन नगरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का परामर्शदाता विष्णुप्रसाद मरासिनीले बताए ।
संयुक्त राष्ट्र संघको विपद् जोखिम न्यूनीकरण कार्यालयले लूलाई जलवायुजन्य विपद् मानेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार जलवायु परिवर्तन र बढ्दो जनसंख्याका कारण गर्मी बढ्दै छ ।
जल तथा मौसम विभाग विज्ञानकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जलवायु परिवर्तनको असरले नेपाल पनि अछुतो नरहेकाले तापक्रम वृद्धि हुँदा भयावह मौसमी प्रणाली विकास हुने, विषम मौसमी घटना छिटोछिटो विकास हुने र पूर्वानुमान गर्न गाह्रो हुने बताउँछिन् । ‘जल तथा मौसम विज्ञान विभागसँग देशभरि ५ सयभन्दा बढी स्टेसन छन्, ती अपुग छन्, ती स्टेसनबाट प्राप्त तथ्यांकअनुसार नेपालमा बर्सेनि औसतमा ०.०५२ प्रतिशतका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको छ,’ उनले भनिन्, ‘बढ्दो तापक्रमले हिमाल पग्लिनेदेखि पछिल्लो समय लू बढ्ने भइरहेको छ ।’
विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तापक्रम वृद्धि हुँदै गइरहेको र विपद् जोखिम हुने हुँदा विज्ञ र सरोकारवालासँग समन्वय गरेर तुरुन्तै कार्ययोजना बनाउने बताए । ‘तापक्रम बढेकामा कुनै द्विविधा छैन, गम्भीर हुँदै गइरहेको छ, यसलाई प्राधिकरणले गम्भीरतापूर्वक लिएको छ, मापदण्ड बनाउँदै जान्छौं,’ उनले भने, ‘तत्कालै पूर्वतयारी र प्रतिकार्यका कार्ययोजना बनाउँछौं र कार्यान्वयनका लागि पालिका तहसम्म पुर्‍याउँछौं ।’ गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सवालमा केन्द्रीय स्रोत निकायका रूपमा काम गर्दै आएको छ । हालसम्म सामाजिक सञ्जालमा तातो हावाको लहरबाट बच्न जनचेतनामूलक सामग्री प्रचारप्रसार गर्नेमै सीमित छ ।
मौसम पूर्वानुमान महाशाखाले तापक्रम वृद्धिको पूर्वानुमानका आधारमा सावधानी अपनाउन सामाजिक सञ्जालमार्फत सचेतनामूलक सूचना प्रवाह गर्ने गरेको छ । तातो हावाको लहरले थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुन सक्ने भएकाले यसबाट बच्न गर्मीको समयमा घरभित्रै अर्थात् चिसो स्थानमा बस्न सुझाएको छ । बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आइहाले स्वास्थ्यकर्मीसँग परामर्श लिन उसको सुझाव छ ।

समाचार

सगरमाथामा हराइरहेका मंगोलियनको शव फेला

काठमाडौं (कास)– सगरमाथाको चौथो शिविर नजिकबाट ६ दिनदेखि हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एक जनाको शव फेला परेको छ । ५३ वर्षीय युखजर्गल सिडेनडम्बाको शव शुक्रबार
फेला परेको हो । खोज तथा उद्धारमा संलग्न शेर्पा टोलीले ७ हजार ७ सय २ मिटरको उचाइमा शव भेट्टाएको हो ।
खोज तथा उद्धारमा संलग्न काठमाडौंस्थित एटके एक्सपिडसनका निर्देशक लाक्पा थेन्डु शेर्पाका अनुसार गत आइतबार साँझ सगरमाथा चुचुरो नजिकै ७ हजार ९ सय ५० मिटर उचाइमा रहेको चौथो शिविरभन्दा माथिबाट उनी हराएका थिए । ‘चौथो शिविरभन्दा माथिबाट हराइरहेका दुई मंगोलियन आरोहीमध्ये एक जनाको शव फेला पर्‍यो,’ एटके एक्सपिडसनका निर्देशक शेर्पाले भने, ‘अर्का ३१ वर्षीय प्योरभ्रिसन खाम्बाजाभ अझै भेटिएका छैनन् ।’
अहिले आरोहणको सिजन भएकाले हिमाल चढ्न जाने आरोहीलाई
बाधा पुग्ने भएकाले मृत अवस्थामा भेटिएका मंगोलियन आरोहीको शव भने आधार शिविरमा झार्न कठिनाइ हुने निर्देशक शेर्पाले बताए । यसपटकको आरोहण सिजन सकिएपछि अर्का मंगोलियनको पनि खोजी गरेर सिडेनडम्बाको शव व्यवस्थापन गरिने उनले बताए ।

समाचार

सर्वोच्चद्वारा सरकारलाई दोहोर्‍याएर आदेश

- कान्तिपुर संवाददाता

(काठमाडौं)
सर्वोच्च अदालतले काठमाडौं महानगरका सडक व्यवसायीको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपायसहितको कार्ययोजना लिएर अदालतमा उपस्थित हुन सरकारलाई दोहोर्‍याएर आदेश दिएको छ । एक वर्षअघि दिएको आदेशलाई प्रत्यर्थीहरूले बेवास्ता गरेको भन्दै बुधबार पुनः आदेश गरेको हो ।
सर्वोच्च अदालतको इजलासले उच्च प्राथमिकता दिएर सुनुवाइको मिति नै निर्धारण गर्दै यसअघि २०८० वैशाख २४ मा कार्ययोजना पेस गर्न आदेश गरेको थियो । सो आदेश २०८० जेठ २८ मा सबै प्रत्यर्थीलाई जानकारीसमेत गराइएको थियो । तर सो आदेशलाई प्रत्यर्क्षीहरूले बेवास्ता र हेलचेक्र्याइँ गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले १५ दिनको म्याद तोकेर कार्ययोजना बनाउन र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न पुनः आदेश गरेका हुन् ।
‘प्रत्यर्थीहरूले गरेको बेवास्ता र हेलचेक्र्याइलाई यस इजलासले अत्यन्त गम्भीर रूपमा लिएको छ,’ एक वर्षअघिको आदेश कार्यान्वयनमा भएको बेवास्तामाथि आपत्ति जनाउँदै सर्वोच्चको आदेशमा भनिएको छ, ‘१५ दिनभित्र कार्ययोजना तयार गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्नू, अन्यथा न्याय प्रशासन ऐन, २०७३ को दफा ३४(२) बमोजिम इजलाससमक्ष पेस गरिने व्यहोराको जानकारीसमेत प्रत्यर्क्षीहरूलाई दिनू ।’ न्याय प्रशासन ऐन, २०७३ को दफा ३४(२) अनुसार अदालतले माग गरेको मिसिल, लिखत वा जवाफ उपलब्ध नगराउनेलाई पटकैपिच्छे १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।
बुधबारको संयुक्त इजलासले २०८० वैशाख २४ को आदेशानुसार फुटपाथ व्यवसायमाथि तीनै तहका सरकारको दृष्टिकोण, भविष्यको कार्ययोजनाका साथै सो कार्ययोजनाको सफल कार्यान्वयन गर्न अवलम्बन गरिने नीति कार्यक्रम र सरोकारवाला निकायसँगको सहकार्य र समन्वयको विवरण समेटिएको कार्ययोजना बनाउन आदेश जारी गरेको हो ।
नेपाल सरकारका मुख्यसचिवको नेतृत्वमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वाग्मती प्रदेश सरकारका प्रमुख सचिव, सहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरूको समन्वयमा कार्ययोजना बनाउन कार्यादेश दिइएको छ । उनीहरूले कार्ययोजना तयार पारेर १५ दिनभित्रमा महान्यायाधिवक्तालाई पेस गर्नुपर्ने निर्देशकसहितको आदेशमा बताइएको छ ।
सुरु आदेश दिएदेखि पुनः आदेश दिउन्जेलको एक वर्ष अवधिमा १५ पटकजति पेसी सरेको सर्वोच्चको वेबसाइटमा उपलब्ध मुद्दाको विवरणमा उल्लेख छ । ‘अदालतले दिएको आदेशअनुसार कार्ययोजना पेस पनि नगर्ने, महानगरले फुटपाथ व्यवसायीहरूको सामान लुट्ने, कुटपिट गर्ने गर्दा जीविकोपार्जनको समस्या भयो भनेपछि म समेतले हेरेका छौं,’ निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता राजुप्रसाद चापागाईंले भने । महानगरले सडक व्यवसायीको जीविकोपार्जन गर्ने मौलिक हककै हनन गरिरहेको बताए । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले यसबारे आफूलाई जानकारी नभएको हुनाले कानुन शाखामा बुझ्ने बताए ।
महानगरले पटक–पटक सडक व्यवसायीलाई दमन गर्दै आइरहेको र जीविकोपार्जनको अधिकार खोसिरहेको भन्दै उनीहरूको हकहितका लागि संयोजिता आचार्यसमेत नवोदित कानुन व्यवसायीले २०७९ चैत १ मा सर्वोच्चमा सार्वजनिक सरोकारको मुद्दाका रूपमा रिट हालेका थिए । फुटपाथ व्यवसायीहरूको रोजगारी लगायतका समसामयिक तथा जीवनयापनका वैकल्पिक
उपायबारे रिट निवेदकहरूले जायज माग उठान गरेको भन्दै सर्वोच्चले २०८० वैशाख २४ मा प्रत्यर्थीहरूविरुद्ध आदेश जारी गरेको थियो ।

Page 4
Page 5
Page 6
Page 7
अर्थ वाणिज्य

मौद्रिक नीतिको तेस्रो समीक्षाले अटो र घरजग्गा क्षेत्रलाई राहत

- यज्ञ बञ्जाडे

(काठमाडौं)
घरजग्गा, अटो बजार र सेयर बजारलाई राहत हुने गरी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक सार्वजनिक गरेको छ । यी क्षेत्रलाई चलायमान बनाउन यसअघि नै सरकारले घरजग्गाको कित्ताकाट गरेको, दोस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत सहजता गरेको थियो । ती व्यवस्थाले पनि यी क्षेत्र चलायमान हुन नसकिरहेका बेला राष्ट्र बैंकले तेस्रो त्रैमासिक व्यवस्थामार्फत थप सहन नीतिगत व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाले घरजग्गा, अटो बजार र सेयर बजारमा चलायमान बनाउने राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘यी व्यवस्थाले अर्थतन्त्र चलायमान हुने प्रक्रियामा सहयोग पुग्ने निश्चित छ,’ उनले भने । यद्यपि समीक्षामार्फत राष्ट्र बैंकले गरेका ती
व्यवस्था कार्यान्वयनका लागि परिपत्र (निर्देशन) जारी हुनुपर्छ ।
नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले अचल कर्जामा १.२० प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । यसअघि यस्तो कर्जामा १.२५ प्रतिशत नोक्सनी व्यवस्था गर्नुपर्ने व्यवस्था थियो । ‘बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको नाफामा सकारात्मक असर पर्ने नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए । ‘बैंकिङको असल वर्गको कर्जा ४७ खर्ब हाराहारी छ, यसरी हेर्दा २ खर्ब ३ अर्ब जति कर्जा नोक्सानी व्यवस्था घट्ने देखिन्छ । मुनाफामा सकारात्मक असर पर्नेछ,’ उनी भन्छन् ।
घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ । ‘हाल ऋणीले बैंकमा पेस गरेको करचुक्ता आयको ५० प्रतिशतसम्म मासिक किस्ता हुने गरी कर्जा लिन पाइने व्यवस्था छ । त्यो व्यवस्था परिमार्जन गरी करचुक्ता आयको ७० प्रतिशत मासिक किस्ता हुनेसम्मको ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । ‘यो व्यवस्थामार्फत घर कर्जालाई अझ सहज बनाइयो । यसले घरजग्गा कारोबारलाई चलायमान बनाउन अलि सहज हुने देखिन्छ । हाल २ करोडसम्मको कर्जा ३ खर्ब ८४ अर्ब र अन्य रियल इस्टेटमा २ खर्ब ४८ अर्ब कर्जा प्रवाह देखिन्छ,’ ज्ञवालीले भने ।
अब बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत सेयर बिक्री गर्न पाउने भएका छन् । ‘बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि बितिसकेका लगानीमध्ये एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले भनेको छ । यसअघि एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको १ प्रतिशतसम्म मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था थियो ।
बैंक तथा वित्तीय संस्थाले सेयर बिक्री गर्न नपाउँदा सेयर बजार चलायमान नभएको निष्कर्षका आधारमा नयाँ व्यवस्था गरिएको राष्ट्र बैंकको दाबी छ । यद्यपि यो व्यवस्थाले सेयर बजारमा सकारात्मक असर नपर्ने दाबी ज्ञवालीको छ । ‘सेयर खरिद गर्न पाउने व्यवस्थामा परिवर्तन नभई बिक्री मात्र गर्न दिने व्यवस्थाले सेयर बजारमा आपूर्ति बढाउँछ । बैंकहरूले लगानीबाट बाहिरिने मौका पाउँछन् । तर यसको असर सेयर बजारमा सकारात्मक हुने देखिँदैन,’ उनले थपे, ‘तर वर्तमान व्यवस्थाअनुसार १ वर्ष अवधि बितिसकेका लगानीमध्ये एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको १ प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थालाई एकै पटक २० प्रतिशत गरिएकाले सकारात्मक सन्देश दिन खोजेको देखिन्छ ।’
अब सबै हायर पर्चेज (अटो) कर्जाको जोखिम भार एक सय रुपैयाँ कायम हुने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने २५ लाखभन्दा माथिका कर्जामा १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारीसाधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरेको हो ।
यो व्यवस्थाले अटो कर्जा बढ्ने भएकाले आर्थिक गतिविधि चलायमान हुने विज्ञहरूको दाबी छ ।
‘यो व्यवस्थाले अब यस्ता सबै कर्जामा जोखिमभार एक सय प्रतिशत हुँदा बैंकहरूले सहजै हायर पर्चेज प्रकृतिका सवारीसाधन कर्जा प्रवाह गर्ने र जोखिमभार घट्ने हुन्छ । यसले अटोमोबाइल व्यवसायीलाई केही राहत हुनेछ,’ ज्ञवाली भन्छन्, ‘बैंकहरूको पुँजीकोषमा सामान्य राहत हुनेछ । बैंकहरूको १ खर्ब २७ अर्ब हायर पर्चेज कर्जामध्ये २५ लाख कर्जाको जोखिम भार घट्नेछ ।’ समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १ सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारीसाधन कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरण प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने घोषणा पनि राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा चाप परिरहेको र सञ्चिति कोषमा नकारात्मक असर परिरहेका बेला पुँजीकोष व्यवस्थापन गर्न प्रपेनचुयल प्रिफरेन्स सेयरलाई अनुमति दिने व्यवस्था आउने सम्भावना देखिएको ज्ञवालीले बताए । यसले बैंकहरूलाई व्यवसाय वृद्धि गर्न पुँजीकोष व्यवस्थापन सहज हुने र पुँजीकोष व्यवस्थापनमा बैंकहरूलाई राहत हुने उनको भनाइ छ ।

अर्थ वाणिज्य

४ वर्षमा पौने १७ लाख किसान घरधुरी सूचीकृत

- राजु चौधरी

(काठमाडौं)
चार वर्षदेखि सञ्चालन हुँदै आएको किसान सूचीकरण कार्यक्रम सुस्त देखिएको छ । किसानलाई सूचीकृत गरी किसान परिचयपत्रका आधारमा अनुदान सेवा, सुविधा उपलब्ध गराउने योजना भए पनि सूचीकृत प्रक्रिया ढिलाइ भएको छ । कृषि गणना–०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७ सय ८९ किसान परिवार छन् । ती परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषि गर्दै आएका छन् । त्यही आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकृतको काम अगाडि बढाए पनि प्रगति सन्तोषजनक छैन ।
मन्त्रालयकै तथ्यांकअनुसार हालसम्म १६ लाख ७८ हजार कृषक घरधुरी मात्रै सूचीकृत भएका छन् । ‘संविधानले अंगीकार गरेको किसानको हकहित संरक्षणसम्बन्धी नीति एवम् खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, ०७५ मा भएको व्यवस्थाअनुसार किसान वर्गीकरण आधार तयार गर्न मन्त्रालयले ०७७/७८ देखि नै कार्यक्रम सञ्चालनमा ल्याएको हो,’ मन्त्रालयका प्रवक्ता सबनम शिवाकोटीले भनिन्, ‘किसान सूचीकरण कार्यक्रममार्फत ऐनमा भएको व्यवस्थाबमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा, सुविधा, अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् ।’
सूचीकृत प्रणाली ‘किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि–०७७’ अनुरूप गरिएको शिवाकोटीको भनाइ छ । कार्यविधिअनुसार मन्त्रालयले वेबमा आधारित एक सफ्टवेयर प्रणाली विकास गर्ने र त्यसपछि प्रणाली संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने उल्लेख छ । प्रणालीमा किसानको वैयक्तिक तथा कृषिसम्बन्धी विवरण संकलन गरिने, जुनसुकै स्थानमा बसोबास गर्ने कृषि पेसामा संलग्न व्यक्तिहरू आबद्ध हुन सक्ने उल्लेख छ । ‘किसान सूचीकरण प्रणालीमा आबद्ध हुन चाहने कृषि पेसामा संलग्न व्यक्तिले स्वयं वा कृषिसँग सम्बन्धित संघ, प्रदेश वा स्थानीय तहका सम्बन्धित निकायहरूको सहयोगमा प्रणालीको वेबसाइट वा मोबाइल एप्लिकेसनमार्फत आधारभूत विवरण प्रविष्ट गर्न सक्नेछन् । त्यसका लागि स्थानीय तह र त्यहाँ कार्यक्षेत्र रहेका संघ र प्रदेश मातहतका निकायसमेतको दायित्व हुनेछ । किसानले व्यक्तिगत खाता सिर्जना गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘किसान सूचीकरणको अभिलेख प्रमाणीकरण सम्बन्धित स्थानीय तहको वडा समितिमार्फत हुनेछ । स्थानीय तहले आफ्नो कार्यक्षेत्रका किसानलाई सूचीकरण प्रणालीमा आबद्ध गराउन सहजकर्ता परिचालन तथा घुम्ती टोली खटाई अभियान सञ्चालन गर्न सकिनेछ ।’ यसका लागि किसान सूचीकरण तथा कृषि तथ्यांक संकलनका लागि उपलब्ध गराइएको ससर्त अनुदान रकम परिचालन गर्न सकिनेसमेत भनिएको छ । तर पनि किसान स्चूीकृत गर्ने प्रक्रियामा ढिलाइ भएको हो ।
कार्यक्रमलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइएको छ । संसद्का दुवै सदनमा आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार किसान सूचीकरण कार्यलाई तीव्रता दिइने बताए । किसान परिचयपत्रलाई कृषि क्षेत्रमा प्रदान गरिने सेवा सहुलियतसँग आबद्ध गरिने उनको भनाइ छ । यो विषय हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उठाइए पनि कार्यान्वयनमा भने राम्रो प्रगति छैन ।
अनलाइन प्रणालीमा समस्या र पालिकामा पत्रचार भए पनि उचित तालिम नहुँदा ढिलाइ भएको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत चेतबहादुर रोक्काले बताए । अहिले राम्रोसँग मोनिटरिङ भइराखेकाले अनलाइन प्रणालीमा इन्ट्री बढेको उनको भनाइ छ । ‘अहिलेसम्म सबै काम सक्नुपर्ने हो, केही प्राविधिक कारण ढिलाइ भयो । १३ पालिकामा पूर्णतः सूचीकृत भए पनि अन्यमा ढिलाइ भयो,’ उनले भने, ‘अब आगामी आर्थिक वर्षमा सक्ने गरी तीव्रता दिएका छौं ।’ सूचीकृत हुन बाँकी पालिकाबाट दैनिक ३–४ हजारको अनलाइन इन्ट्री भएको छ ।
सूचीकृत भए पनि राष्ट्रिय परिचयपत्रसँग जोड्ने योजना रहेको उनले जनाए । त्यही आधारमा सरकारी सेवा सुविधामा उपलब्ध हुनेछ । ‘स्थानीय, प्रदेश र संघबाट अनलाइन इन्ट्री गर्न सकिन्छ । इन्ट्री भएपछि पारदर्शी हुन्छ, कसैले सेवा सुविधा पाएन भन्ने गुनासो हुँदैन,’ उनले भने । यसका लागि संघले बजेट पठाइदिन्छ । विगतमा पालिकाअनुसार ३/३ लाख पठाइएको थियो । केही पालिकामा सूचीकृतको काम सकिएकाले त्यही आधारमा बजेट कम गरेर पठाइने मन्त्रालयले जनाएको छ । ‘अब पठाइने बजेट कामका आधारमा हुन्छ, कति काम सम्पन्न भएको छ, त्यही आधारमा रकम पठाउँछौं,’ रोक्काले भने, ‘एउटा पालिकामा डेढ लाखदेखि ४ लाख रुपैयाँसम्म बजेट पठाइन्छ ।’
मन्त्रालयका अनुसार ०८१ वैशाख १० मा राजपत्रमा प्रकाशित खाद्य अधिकार तथा सम्प्रभुता नियमावली, ०८१ को नीतिगत व्यवस्थाअनुरूप सञ्चालनमा ल्याउन कार्यविधिमा संशोधन पनि तयारी छ । स्वीकृत खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, ०७५ र नियमावली, ०८१ मा भएको व्यवस्थाबमोजिम किसान पहिचान र वर्गीकरणको कार्यलाई कार्यान्वयन गर्न तीनै तहले साझा अपनत्वसहित आवश्यक बजेट विनियोजन गरी सूचीकरणको कार्य प्रभावकारी बनाउन साझा धारणा हुने जनाइएको छ ।

अर्थ वाणिज्य

भारतीय दुई ब्रान्डका ४ मसला आयात र बिक्रीमा रोक

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपालले भारतका दुई ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसला आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएको छ । हङकङको खाद्य सुरक्षा केन्द्र (सीएफएस) र सिंगापुर फुड एजेन्सीले रोक लगाएको र विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई चार प्रकारका मसलामा विभागले समेत रोक लगाएको जनाएको छ ।
विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो । एमडीएचका उक्त मसला १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ छ । विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ । ‘सम्बन्धित कार्यालयमा केही भारतका ब्रान्डका मसलाको आयातमा रोक लगाइएको पत्राचार गरिएको छ,’ पछिल्लो निर्णयबारे जानकारी दिँदै विभागकी महानिर्देशक मतिना जोशी वैद्यले भनिन् ।
विभागले उल्लिखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिइसकेको छ । साथै राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ‘एथलिन अक्साइड’ परीक्षणलाई उच्च प्राथमिकतामा राख्न समेत भनेको छ । ‘एथलिन अक्साइड’ मानिसमा क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ हो । यसलाई इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले कार्सिनोजेनिक रसायनको समूह–१ मा राखेको छ । यसले स्तन क्यान्सरलगायत विभिन्न क्यान्सर हुन सक्ने आईएआरसीको भनाइ छ ।
सिंगापुर र हङकङले भारतीय मसलाको आयातमा रोक लगाएपछि यसको गुणस्तर र खाद्य सुरक्षामा विश्वका विभिन्न मुलुकले प्रश्न उठाएका छन् । मसला उत्पादन र निर्यातका हिसाबले भारत विश्वकै अग्रणी मुलुकमध्ये एक हो । बीबीसीका अनुसार भारतले झन्डै ४ बिलियन डलरबराबरको मसला बर्सेनि निर्यात गर्छ, जुन विश्व मसला निर्यातको १२ प्रतिशत हो ।
नेपालले समेत भारतबाट ठूलो परिमाणमा मसला आयात गर्छ । यो आर्थिक वर्षको ९ महिनामा
मात्र नेपालले भारतबाट झन्डै ८ अर्ब रुपैयाँ बराबरको विभिन्न मसला आयात गरेको छ । नेपालले प्रत्येक वर्ष भारतबाट खुर्सानी र मरिचमात्र झन्डै २ अर्ब रुपैयाँबराबरको आयात गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले समेत भारतीय एमडीएच र एभरेस्ट मसलाका बारेमा अध्ययन गरिरहेको जनाएको छ । ‘यसबारे आइरहेको समाचारहरूबारे एफडीए सूचित रहेको छ । हामीले यसबारेमा थप सूचना संकलन गरिरहेका छौँ,’ एफडीएका प्रवक्ताको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ । न्युजिल्यान्ड र अस्ट्रेलियाले पनि यसबारे सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाएका छन् ।

अर्थ वाणिज्य

सुनको मूल्यमा सामान्य गिरावट

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन बिहीबार प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएकामा शुक्रबारका लागि एक लाख ३९ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा शुक्रबार एक लाख ३८ हजार छ सय ५० रुपैयाँ तय भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार तोलामा एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको भने एक हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

Page 8
समाचार

श्रीमान अमेरिकामा अस्ताए, श्रीमतीको थाप्लामा ऋण

- कान्तिपुर संवाददाता

सिस्ने गाउँपालिका–३ पोखराकी उर्मिला शर्मालाई यतिबेला पति वियोगको चोट र कर्जाको भार दुवैले एकैचोटि थिचेको छ । उनले भोगिरहेको यो चोट र भारको कथा भने अमेरिकासँगै जोडिएको छ । संगठित मानव तस्करको भर परेर २५ महिनाअघि ६० लाख खर्चेर अमेरिका छिरेका उनका श्रीमान् वसन्त उतै बिरामी परेर बिते ।
गत फागुन १८ मा वसन्तको उपचारका क्रममा मृत्यु भयो । अनि त उर्मिला दुई छोरीको जिम्मेवारी, पतिले अमेरिका छिर्दा लिएको कर्जाको भार र शोक एकैचोटि उठाउन बाध्य भइन् । गहभरि आँसु पार्दै उनले भनिन्, ‘जोडा त बितेर गए, यी लालाबाला कसरी पाल्ने अनि यति धेरै ऋण कसरी तिर्ने ?’
६० लाख खर्चेर अमेरिका छिरेका वसन्त त्यहाँ पुगेको एक वर्ष पनि नबित्दै बिरामी परेपछि उपचारमा थप १० लाख खर्च गर्न बाध्य भए । तर उनी नै संसारमा नरहेपछि उर्मिलाका निम्ती संसार खसेजस्तो भयो । उनले सुनाइन्, ‘गत मंसिरमा उहाँ बिरामी परेर अस्पताल भर्ना भएको खबर आयो । निको होला भन्ने आशा गरेर बसेको त यस्तो पो भयो ।’
बसन्तलाई अस्पताल भर्ना गर्नेदेखि उपचारमा सघाएकी उनकी भाउजू अस्मिताका अनुसार क्षयरोगको संक्रमणका कारण उनको निधन भएको थियो । उनले अस्पतालको भनाइ उदृत गर्दै भनिन्, ‘क्षयरोगको संक्रमण फोक्सोबाट बढेर दिमागसम्म पुगेकाले ज्यान बचाउने प्रयास सफल भएन ।’
मानव तस्करमार्फत नेपालबाट विभिन्न देश हुँदै अमेरिका पुर्‍याइएका वसन्त बाटोमा जाँदा जाँदै बिरामी परेको तर जसरी पनि अमेरिका पुग्ने तापका कारण बेवास्ता गर्दा अहिले यो अवस्था आएको उनीसँगै अमेरिका गएका साथी मिलन बुढा मगर बताउँछन् । ‘एउटै गाउँका हामी मेक्सिकोसम्म सँगै थियौं । बाटोमा उनी खोकिरहन्थे । पछि बिरामी भएको खबर सुन्दा दुःख लाग्यो,’ उनले भने, ‘अस्पताल भर्ना भएपछि मात्रै थाहा पाएका हामीले बचाउन धेरै कोसिस गरे पनि सकिएन ।’
क्षयरोगको सामान्य संक्रमण हुँदा नै अस्पताल नपुगेर अन्तिम अवस्थामा मात्रै उपचार भएका कारण बचाउन नसकिएको अमेरिकामै रहेका उनका अर्का साथी लक्ष्मण शर्माले बताए । ‘यहाँ पुगेपछि कसरी पैसा कमाउने भन्नेमा मात्रै ध्यान हुन्छ । यस
कारण पनि वसन्तले स्वास्थ्यको ख्याल गरेनन् सायद,’ उनले भने, ‘पछि धेरै गाह्रो भएपछि मात्रै उपचारका लागि गुहार मागे । अनि उनकी भाउजूलाई खबर गरेर अस्पताल भर्ना गर्‍यौं ।’
न्युयोर्कस्थित एक अस्पतालमा करिब तीन महिनाको सघन उपचारपछि वसन्को मृत्यु भएको थियो । अवैध रूपमा अमेरिका पुर्‍याइएका उनीसँग कुनै कानुनी मान्यता प्राप्त नहुँदा उपचारमा त कठिन भयो नै मृत्युपछि पनि दाहसंस्कारमा मुस्किल परेको लक्ष्मण बताउँछन् । ‘उनी बिरामी परेदेखि नै यहाँ रहेका नेपालीले सहयोग संकलन गर्न सुरु गर्‍यौं,’ उनले भने, ‘यसले उनको उपचार, अन्त्येष्टि र शोकाकुल परिवारको दुःखमा समेत केही सहयोग पुग्यो ।’
वसन्तलाई अमेरिका पुर्‍याउन परिवारका सदस्यले छर–छिमेक, आफन्त र साहुँबाट २५ देखि ४० प्रतिशत ब्याजमा ५० लाखभन्दा धेरै ऋण लिएका थिए । कमाउन भन्दै हिंडेको मान्छे नै बितेपछिको शोकमा यतिबेला घुमिरहेको ब्याजको मिटरले थप सास्ती दिएको छ ।
अमेरिकामा वसन्तको मृत्युपछि उनका साथीहरूले संकलन गरेर करिब १८ लाख नेपाली रुपैयाँ आफुूहरूसम्म पठाएको बताउँदै श्रीमती उर्मिलाले यसले आफूहरूलाई ठूलो सहयोग पुगेको बताइन् । उनले अझै पनि ५० लाखभन्दा धेरै ऋण तिर्न बाँकी रहेको बताउँदै भनिन्, ‘श्रीमान् र ऋण दुवैको सम्झनाले सताएको छ । कमाउने मान्छे बितिहाल्नुभयो । अब कसरी यो संकटबाट मुक्त हुने होला ?’
उर्मिलाले शोकका बेला भएकाले पैसा दिएकाहरूले तत्कालै नमागे पनि सधै यसै गरी त पक्कै चल्दैन भन्ने बुझिसकेकी छन् । उनले भनिन्, ‘तर सधैं यसै गरी त कसरी चल्ला र । माग्न आउनेलाई के दिएर पठाउँला ?’

 

Page 9
खेलकुद

सन्तोषी पेरिस ओलम्पिकमा दौडिने

- कान्तिपुर संवाददाता

(काठमाडौं)
एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा सहभागिता जनाउने शुक्रबार निश्चित
भएको छ । दक्षिण एसियाली खेलकुद
इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत वुमेन्स म्याराथनमा सहभागिता जनाउने छिन् ।
विश्व एथलेटिक्सले शुक्रबार आफ्नो वेस्ट साइटमा नेपालका तर्फबाट सन्तोषीले भाग लिने पुष्टि गरेको छ । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले पछिल्लो महिना नै युनिभर्सालिटी कोटाअन्तर्गत सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो । अब विश्व एथलेटिक्सले उनको नाम उल्लेख गरेपछि यो निश्चित भएको छ । सन्तोषीले अब ओलम्पिकका लागि तयारी सुरु गर्ने बताएकी छन् । ‘ओलम्पिकमा सहभागिता हुने निश्चित भएपछि म खुसी छु । अब त्यसको लागि तयारी गर्नेछु । मेरो उद्देश्य आफूले सक्दो उत्कृष्ट प्रदर्शन गर्ने रहनेछ,’ सन्तोषीले १३ औं दक्षिण एसियाली खेलकुदमा वुमेन्स १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।
बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा उनले दक्षिण एसियाली खेलाडीबीचको प्रतिस्पर्धामा स्वर्ण जितेकी थिइन् । त्यसमा उनको प्रदर्शन दुई घण्टा ४६ मिनेट २२ सेकेन्ड रहेको थियो । यो नै उनले दौडेको एक मात्र म्याराथन हो र यसैक्रममा उनले नेपालको राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् ।

खेलकुद

कान्तिपुर हाफ म्याराथन आज

- कान्तिपुर संवाददाता


काठमाडौं (कास) कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण शनिबार हुनेछ । कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा ३ हजार धावकले विभिन्न चार विधामा प्रतिस्पर्धा गर्नेछन् ।
४ विधामध्ये कान्तिपुर हाफ म्याराथन २१.१ किमिको हुनेछ । त्यस्तै अन्य ३ विधा कर्पोरेट रन
५ किमि, कलेज रन ७ किमि र ह्विलचियर रेस हुनेछ । मुख्य विधा कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख पाउनेछन् । त्यस्तै दोस्रोदेखि छैटौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाउनेछन् ।
ग्लोबल आईएमई बैंक मुख्य प्रयोजक रहेको कान्तिपुर हाफ म्याराथनमा ह्विलचियर रेसतर्फ विजेताले ३० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २० र १० हजार पाउनेछन् । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।
‘रन टु इन्स्पायर द यङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथन कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डल, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डल हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिनेछ ।
कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डल, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ती लगाएर पुनः बानेश्वर, माइतीघर मण्डल, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिनेछ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचियर रेस, थापाथली, माइतीघर मण्डल फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिनेछ ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनको सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिजा हर्ट, टेक्निकल पार्टनर नेपाल एथलेटिक्स एसोसिएसन, पेन रिलिफ पार्टनर जन्डु, फुड पार्टनर फुड म्यानेजमेन्ट एन्ड ट्रेडिङ कम्पनी लिमिटेड तथा डिजिटल पार्टनर ः इसेवा मनी ट्रान्सफर, इन्टरनेसनल एयरलाइन्स पार्टनर जजिरा र हस्पिटल पार्टनर अल्का अस्पताल रहेका छन् ।
कान्तिपुर हाफ म्याराथन २०६७ सालदेखि आयोजना हुँदै आएको छ । गत वर्ष पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले जितेका थिए । महिलातर्फ कान्छीमाया कोजूले ५ र पुरुषतर्फ हरिकुमार रिमालले चार पटक कान्तिपुर हाफ म्याराथन जितिसकेका छन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

खेलकुद

सुदूरपश्चिम फाइनलमा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार भिड्ने भएका छन् । सुदूरपश्चिमले शुक्रबार राउन्ड रोबिनको अन्तिम खेलमा वाग्मती प्रदेशलाई १ सय ९ रनले पराजित गरी फाइनल यात्राको औपचारिकता पूरा गरेको थियो ।
टस हारेपछि ब्याटिङमा आएको सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ५७ रन बनायो । जवाफमा आएको वाग्मती १६.१ ओभरमा ४८ रनमै अलआउट भयो । एपीएफ यसअघि नै अपराजित यात्रालाई कायम राख्दै फाइनल पुगेको थियो ।
५ टोली सहभागी प्रतियोगिताको राउन्ड रोबिनपश्चात् एपीएफले ८ र सुदूरपश्चिमले ६ अंक जोडे । सुदूरपश्चिमलाई ठूलो अन्तरमा पराजित गरेको भए वाग्मतीको फाइनलमा पुग्ने सम्भावना रहन्थ्यो । तर त्यसको ठीकविपरीत ठूलो हार बेहोरेपछि पहिलो पटक ललितपुर मेयर्स कपका लागि छनोट भएको वाग्मती अंक तालिकामा पुछारमा रह्यो ।
ललितपुर मेयर्स कपको चौथो संस्करणमा एपीएफ र सुदूरपश्चिम तेस्रो पटक फाइनलमा भिड्न लागेका हुन् । तीन पटकको डिफेन्डिङ च्याम्पियन एपीएफले यसअघि सुदूरपश्चिमलाई दुई पटक र गत वर्ष कोशी प्रदेशलाई फाइनलमा पराजित गरेको थियो ।
ओपनर सम्झना खड्काले अविजित ७४ रन बनाएपछि सुदूरपश्चिमले विशाल स्कोर बनायो । प्लेयर अफ द म्याच उनले ४७ बल खेली १० चौका प्रहार गरिन् । उनले रुवि पोदारसँग पहिलो विकेटमा ९ ओभरमा ६० रनको साझेदारी गरिन् । रुविले ३६ बल खेली ३ चौकासहित २८ रन बनाइन् । कप्तान विन्दु रावलले पनि २८ रन नै बनाइन् । उनले २३ बल खेली ५ चौका प्रहार गरिन् । कविता जोशी १४ बल खेली १ चौका र १ छक्का प्रहार गरी २० रन बनाई अविजित रहिन् । वाग्मतीकी कृष्मा गुरुङले १ विकेट लिइन् ।
फिल्डिङका क्रममा चोट लागेपछि कप्तान अस्मिना कर्माचार्य बिनै वाग्मती ब्याटिङमा आएको थियो । ‘कनकसन रिप्लेसमेन्ट’ मा उनको स्थानमा आएकी विपिशा शाही ४ रनमा आउट भइन् । वाग्मतीबाट दोहोरो स्कोर बनाउनेमा कृष्मामात्र थिइन् । उनले २३ बल खेली २ चौकासहित १६ रन बनाइन् । सुदूरपश्चिमबाट रीतु कनोजियाले ३ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिइन् । कविता जोशी र लक्ष्मी साउदले २–२ तथा बिन्दु र करिष्मा थापाले १–१ विकेट लिए ।

खेलकुद

सिटीको नजर उपाधिमा, क्लोपको बिदाइमा

- कान्तिपुर संवाददाता

लन्डन (एपी) म्यानचेस्टर सिटीको नजर रहेको छ, इतिहास बनाउनेमा । योर्गन क्लोपको नजर भने बिदाइमा हुनेछ । इंग्लिस प्रिमियर लिगको यो सिजन आइतबार टुंगिँदै छ र यो नाटकीय तथा भावनात्मक दुवै हुनेछ । सिटी लगातार चौथोपल्ट उपाधि जित्ने दाउमा हुनेछ ।
अहिलेसम्म इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा यस्तो भएकै छैन । यसलाई रोक्न सक्ने आर्सनल मात्रै रहेको छ । तर पूरा सम्भावना छ, अन्तिम दिन उसको भागमा पीडा र आँसु मात्रै पनि हुन सक्नेछ । अन्तिम दिन प्रायः यस्तै हुने गर्छ ।
सम्भवतः एनफिल्डमा पनि यस्तै दृश्य देखिनेछ, किनभने जर्मन प्रशिक्षक क्लोप लिभरपुलमा नौ वर्ष बिताएयता बिदा लिँदैछन् । हेभिमेटल फुटबलको पारखी उनी अन्तिम पटक लिभरपुल टिम सम्हाल्दैछन् । उनले छाड्ने त तय भइसकेको छ, तर अन्य प्रशिक्षकहरूको भविष्य के हुने हो, त्यो पनि टुंगो छैन । यसरी अन्योलता छाएका तीन क्लब रहेका छन्, चेल्सी, न्युकासल युनाइटेड र म्यानचेस्टर युनाइटेड ।
संयोगले तीनै टिम अर्को सिजन युरोपमा खेल्ने सम्भावना सुरक्षित गर्न चाहन्छन् । मउरिसो पोचेटिनो, एडी हो र एरिक टेन हागमध्ये कोही पनि निश्चित छैनन्, अर्को सिजन आफ्नो जिम्मेवारी कायम रहने हो अथवा होइन भनेर । के पनि निश्चित भइसकेको छ भने लुटन टाउन दोस्रो डिभिजन च्याम्पियनसिपमा झर्दैछ । खालि गणितीय रूपमा भन्न नसकिएको हो । पुछारबाट चौथोमा रहेको नटिङघम फरेस्टलाई उछिन्ने लुटन टाउनका लागि हदैको नाटकीय जित चाहिनेछ ।
त्यसैले गत सिजन जुन तीन क्लबले बढुवा खाएका थिए, ती सबै फेरि रेलिगेसनमा पर्दैछन् । त्यसमा लुटनसँगै बर्नली र सेफिल्ड युनाइटेड भए । त्यसैले रेलिगेसन संघर्षमा खासै केही हुने छैन । बरु सबैको ध्यान उपाधि होडमै हुनेछ । यसपल्ट पनि उपाधिको होड कडा नै रह्यो । तर यो पनि अपेक्षाअनुसार रहेन । पेप ग्वार्डिओलाको सिटीको बानी नै छ, सिजनको अन्त्यतिर राम्रो खेलेर उपाधि आफ्नो नाममा लेखाउने । सिटी यसपल्ट पनि ढुक्कै देखिन्छ ।
आफ्नो पछिल्लो खेलमा टोटनहमलाई २–० ले हराएको सिटीलाई दोस्रो स्थानमा रहेको आर्सनलमाथि दुई अंकको अग्रता प्राप्त छ । त्यसको अर्थ के भन्दा अन्तिम खेलमा वेस्ट ह्यामलाई हराउने हो भने उपाधि उसकै हुनेछ, त्यो पनि लगातार चौथोपल्ट । सन् १८८८ यता फुटबलको जन्मघर इंग्ल्यान्डमा माथिल्लो डिभिजन सुरु भएको मानिन्छ र अहिलेसम्म यसरी लगातार चारपल्ट कसैले जितेको छैन । तर सिटीको टाउकोमा अर्कै तनाव पनि छ ।
लिगको आर्थिक आचारसंहिता उल्लंघन गरेको आरोपमा सिटीविरुद्ध चलिरहेको कानुनी मुद्दा सन् २०२४ को अन्त्यमा किनारा लाग्न सक्नेछ । त्यसमा दोषी ठहरिए सिटीले जितेको उपाधि मात्रै खोलिने डर छैन, टिमलाई माथिल्लो डिभिजनबाट समेत झारिन सक्नेछ । त्यसैले केहीका लागि यो चौथो उपाधिमा धेरै खुसी पनि नहुन सक्छ । तर ग्वार्डिओलाको फुटबल बुद्धिमत्तामा भने कसैलाई शंका छैन । इतिहादमा बिताएका पछिल्ला आठ वर्षमा उनी छैटौंपल्ट लिग उपाधि जित्ने क्रममा छन् ।
यदि सिटीले वेस्ट ह्यामलाई हराउन सकेन भने उपाधि आर्सनलको हुनेछ । उसले यसका लागि घरमा एभरटनलाई हराउनुपर्नेछ । यस्तो भए, आर्सनलले सन् २००४ यता पहिलो पटक लिग जित्नेछ । उसले अन्तिम पटक लिग जित्दा त्यो टिम अजय थियो, हार्नै नजान्ने । सिटीको बराबरी र आर्सनलको जितमा दुवै टिम ८९ अंकमा रहनेछ । यस्तोमा आर्सनलले लिग जित्नेछ, गोल अन्तरको आधारमा । वेस्ट ह्याम आफैं प्रशिक्षक डेविड मोयसको नेतृत्वमा अन्तिम पटक खेल्दैछ ।
फेरि वेस्ट ह्याम सिटीलाई गतिलो चुनौती दिने टिम पनि होइन । अर्कोतर्फ सिटीले डिसेम्बर ६ यता सबै खाले प्रतियोगितमा गरेर कुनै खेल हारेको छैन र यो क्रम पुगिसकेको छ, ३४ खेल । अर्कोतर्फ क्लोपका लागि लिभरपुलले सुखद बिदाइ पनि दिन सकेन । तर क्लब समर्थकले भने उनलाई पक्कै भावपूर्ण बिदाइ दिनेछन् । क्लोप आएयता लिभरपुलले आठ ठूला उपाधि जितेको छ र त्यसमा युरोपेली च्याम्पियन्स लिग पनि पर्छ । उनी ‘आइकोनिक स्टाटस’ बोकेर बिदा लिँदैछन् ।
अन्तिम दिन निर्णय बाँकी हुन केही पक्ष भने कायमै छ । सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्ला त अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट भइसके । पाँचौं स्थानमा रहनका लागि टोटनहमले सेफिल्ड युनाइटेडविरुद्ध कम्तीमा एक अंक बटुल्नुपर्नेछ । यसको अर्थ युरोपा लिगमा प्रवेश हुनेछ । सम्भवतः छैटौंले पनि युरोपा लिग खेल्न पाउनेछ । सातौंले भने कन्फ्रेन्स लिग खेल्नेछ । यिनै तीन स्थानका लागि चेल्सी, न्युकासल र युनाइटेड भिड्दै छन् । 

Page 10
Page 11
कोसेली

गाउँ एक रेलवे स्टेसन

- हरि रोका


अकस्मात् बन्यो काठमाडौंबाट गाउँ प्रस्थानको योजना । २०५८ सालपछि राजनीतिको मूलधारले मलाई किनारीकृत गर्दै घेराबाहिर उछिट्याइदिएपछि र माओवादी ‘जनयुद्ध’ चरम उत्कर्षतर्फ लम्किरहेको त्यसबखत म गाउँमा टिक्न सक्ने अवस्था बनेन । त्यसैले जसरी पनि दुःखम–सुखम खाल्डोमा (काठमाडौं) समय गुजार्ने सोच बन्यो । तर, केही समय नगुज्रँदै राजधानी पनि जोखिमयुक्त बन्दै गयो ।
लामो अन्तराल अर्थात् २०६२/६३ को जनआन्दोलनपछि मात्रै आफ्नो गाउँ पुगियो । त्यसबेलासम्म गाउँ धेरै हिसाबले उजाड बन्दै गइरहेको थियो । आन्दोलन, संविधानसभा निर्वाचन र अन्य आवधिक निर्वाचनहरूमा दर्जनौं पटक गाउँ पुगियो, तर मेरो त्यो गाउँले आम मानिसलाई स्थिर बसोबास दिन सक्ने आकर्षण गुमाइरहेको देखिन्थ्यो ।
तर, २०७९ मंसिरमा भतिज उमेशको सहजीकरणमा सगोलको पारिवारिक सम्पत्तिको हिस्सा बाँडफाँटसम्बन्धी व्यावहारिक हिसाब–किताब गरौं भन्ने कुरा उठ्यो । र, फेरि एक पटक गाउँ जाने संयोग जुर्‍यो । म पनि दाजु–भाउजू र भतिजहरूसँग सार मिलाउँदै गाउँ पुगें । लगभग चार दशक विश्वविद्यालयको विद्यार्थी, विद्यार्थी राजनीति, जेलनेल, पार्टी राजनीति र राजनीतिमा रमाएँ । ती सबैबाट किनारा लगाइएपछि खोज तथा अनुसन्धाताको भूमिका निभाएर सधैंजसो पहाडी घर र कृषिबाट अलगथलग रहेको मलाई गाउँमै बस्ने खण्डखातिर आइलाग्यो । दाजुहरूले मजस्तो लापरबाहलाई गाउँको पैत्रिक सम्पत्तिको केही हिस्सा स्याहार्ने जिम्मेवारी दिनुभो । सोचें अकस्मात् आएको जिम्मेवारी मेरा लागि एउटा चुनौती हो र स्वीकार गर्नुको अर्को विकल्प पनि मसँग थिएन ।

पहिले छोटकरीमा आफ्नै कृत्यको उत्खनन गरौं । एसएलसी पास गरेपछिको पहिलो डेढ–दशक मैले शिक्षक, विद्यार्थी र पार्टी राजनीतिमा बिताएँ । छयालीस सालसम्म पढाइ, आन्दोलन, हिरासत र जेल मेरो व्यक्तिगत आर्जन र उपलब्धि थिए । बहुदल पुनरागमनपछिको पहिलो दशक जिल्लाको सक्रिय सिनियर राजनीतिक कार्यकर्ताका रूपमा भूमिका निर्वाह गरें । राजनीतिक नेतृत्वमा रहेका सातिर खेलाडीसँग जब वैचारिक र सांगठनिक विषयमा चर्को बहस सुरु भयो र असैद्धान्तिक तथा चरित्रहीन राजनीतिको विरोध सुरु गरियो त्यो नेतृत्वलाई पच्ने कुरै थिएन । यसको अर्थ माथि उल्लेख गरिएझैं राजनीतिबाट किनारमा धकेल्याई खानु अस्वाभाविक थिएन । लगभग २ वर्ष काठमाडौंमा हल्लिएपछि झन्डै आधा दशक जवाहारलाल नेहरू विश्वविद्यालयमा समय व्यतित गरियो । पछिल्लो डेढ दशक पुनः पढाइ, लेखाइ, अध्यापन, संविधानसभा र आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा खोज तथा अनुसन्धानमा (रिसर्च) यसरी नै समय व्यतित भइरहेको थियो ।
मेरा समकालीन राजनीतिज्ञ (जेलमेटहरूसहित), अन्य विभिन्न क्षेत्रमा क्रियाशील सफेदपोष कर्मचारी, समाजसेवी, व्यापारी, व्यवसायी साथीभाइझैं काठमाडौं उपत्यकालाई सम्पूर्ण आधार बनाएर यहीं बसोबासका लागि लगानी गर्ने व्यावहारिक (व्यावसायिक) सोच मेरो दिमागमा घुसेन । त्यसैले दशकौं उपत्यकामा समय व्यतित गर्दा पनि मैले काठमाडौंलाई अन्तिम गन्तव्य ठानिनँ र लगानी पनि गरिनँ ।
उपत्यकामा जसरी पनि श्रीसम्पत्ति (घरघडेरी, गाडी घोडा) जोड्ने मानसिकताभन्दा प्रतिकूल विचार राखेको मलाई मेरा आफन्तहरूले धिक्कार्ने गरेका छन् । उनीहरूमाझ म अव्यावहारिक र पढे–लेखेको बेवकुफ (मूर्ख) भनेरै परिचित छु । उनीहरूबीच आक्कलझुक्कल जसरी मेरो चरित्र–चिन्तन हुन्छ, सुनेर मैले बेखुसी हुने र रियाक्सन जनाउने गरेको छैन । म जस्तो छु, खासगरी सार्वजनिक खपतका लागि मेरा प्रियजनहरूले मलाई भन्ने केही वाक्य छन् । जस्तो ‘आदर्शको ढ्वाङ फुक्ने’, ‘व्यावहारिक कर्म नगर्ने’, ‘सोझो औंलाले घिउ आउँदैन भन्ने नबुझ्ने’, ‘सत्यवादी हरिश्चन्द्र हुन खोज्ने र अहंकारी’ आदि । यस्ता गहन विशेषण सुनाउन कहिलेकाहीं मकहाँ ‘फलाना तपाईंका नाताले तपाईंका बारेमा यसो भन्दै थिए नि’ भन्न आउँछन् । तिनलाई ‘जस्तो देख्छन् त्यस्तै भन्छन्’ भनेर छोटोमा जवाफ दिने गरेको छु ।
मेरा केही साथीभाइले पनि मलाई निकम्मा ठान्छन् । एक पटक मेरो व्यवहारलाई नजिकबाट नियालेका आदरणीय खगेन्द्र संग्रौलाले एउटा अनौपचारिक सांस्कृतिक जमघटमा भनेका थिए, ‘हरि रोकाको घर भयो भने सारा संसारको (सबै सर्वहाराको) घर हुनेछ ।’ सायद यस्तै निकम्मापनलाई नियाल्दै र ‘लम्पट सर्वहारा’
(लुम्पेन प्रोलेटारिएट)’ नबनोस् भनेर माया गर्दै बाउ–बाजेको विरासत थाम्न दाजुहरूले मलाई आदेश दिनुभयो ।

सर्वहाराको लम्पटीकरण (लुम्पेनाइजेसन) मार्क्सवादी साहित्यबाट भित्रिएको सिद्धान्त हो । यो शब्दले सबैभन्दा तल्लो तहमा बाँचिरहेका श्रमजीवीको सामाजिक सुझबुझ र व्यवहारलाई बुझाउँछ । लम्पटीकृत समाजमा हुर्किएको व्यक्तिले आफ्नो निजी सानो स्वार्थसिद्धिका लागि असभ्यता प्रकट गर्न र अक्षम्य अपराध गर्न पनि हिचकिचाउँदैन । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले यो शब्दको व्याख्या सन् १८४८ मा भएको युरोपेली क्रान्तिको विश्लेषण गर्दा चयन गरेका थिए । त्यसको छोटोमोटो व्याख्या ‘दि एट्टिन्थ ब्रुमिएर अफ लुइबोनापार्ट’ नामक पुस्तिकामा पनि पढ्न पाइन्छ । जस्तो समाजमा जन्मिएको लम्पटहरूको त्यो जमातले आफूबाहेक सामाजिक हित हुने विषय सोच्नै सक्दैन । सामूहिक वा सामाजिक स्वार्थपूर्ति हुन सक्छ भन्ने चेतनाको त्यो जमातमा सर्वथा अभाव रहन्छ । त्यो जमातले हामीले सामूहिक रूपमा प्रयत्न गरेको खण्डमा समाज सुध्रन्छ, हामी सबैको कल्याण हुन्छ, हाम्रा लालाबालाहरूको भविष्य यही माटोमा उर्वर बनाउन सकिन्छ भन्ने नै ठान्दैन । त्यसैले आमूल परिवर्तन तथा क्रान्तिको के कुरा भने र ? सामान्य सुधार हुन्छ भन्ने ऊसँग विश्वास नै हुँदैन । वास्तवमा सचेत श्रमजीवीभन्दा ऊ धेरै गुणा पछौटे हुने गर्छ ।

मेरो भागमा १९६५ सालतिर बनेको मूलघरलाई अंशियारहरूले ५ हिस्सामा बाँडेका थिए र त्यसमध्यको एउटा भाग मेरो भनिएको थियो । १९९० देखि २०७२ सालसम्म भुइँचालो खेपेको घर बस्नै नसक्ने गरी धुस्नु भइसकेको थियो । आडमै एकजना अंशियार दाइले खरको छानो भएको घर बनाएका थिए । वर्षौंदेखि छोडेको र नछाइएकाले धराप थापेजस्तै थियो त्यो । मैले यी दुवै घर भत्काएर त्यही घडेरीमा नयाँ घर बनाउने सोच बनाएँ । ढुंगामाटोको जडान र जस्तापाताको छानो भएको दुईतले घर र एउटा अलग्गै सानो भान्सा–घर बनाउने निधो भयो । मेरा निम्न माध्यमिक विद्यालयका सहपाठी नरबहादुर मग्रातीले घर बनाउने जिम्मा लिनुभयो । मैले ढुंगा र काठको जोहो गर्नुपर्ने भयो ।
मलाई लागेको थियो म गाउँ फर्कंदा सबै गाउँलेले स्वागत गर्नु हुनेछ । काठको जोरजाम, ढुंगामाटो व्यवस्थापन, खाद्यान्न र दलहनको जोगाडमा मद्दत पनि पाउनेछु । म केटाकेटी हुँदा गाउँमा बिहे–बटुलो, घर–गोठ निर्माण तथा मृत्यु–संस्कार आदि कार्यमा आफूले सक्दो सहयोग र सघाउनी हुने गर्थ्यो । तर, पहिलो गाँसमा ढुंगा भनेझैं सामुदायिक वनले वनमा रहेको ढुंगाखानीबाट ढुंगा फोरेर ल्याउन प्रतिबन्ध नै लगायो । मेरा आफ्नै काकाका छोराले समेत मिलोमतोमा लागेर विरोध जनाएछन् । घर बनाउने नगदी स्रोत जुटाउन मैले मेरो नियमित काम (रिसर्च) मा बाहिर हिँड्नैपर्ने हुन्थ्यो । त्यसैले घर बनाउने जिम्मा कर्मी साथीहरूलाई नै थियो । म बेलाबखत मात्रै घर पुग्थें । कर्मीहरू नियमित रूपमा काम गरिरहेका हुन्थे, तर उनीहरूलाई हतोत्साही तुल्याउन आफ्नै टोलका दाजुभाइहरूको हरदम टोकेसो रहेको गुनासो मैले सुन्नुपर्‍यो । मैले सम्झाउने प्रयत्न गरें । तर, नशा सेवन (गाँजा र रक्सी) पछि उनीहरूसँग गरिएको पुरानो सम्झौता क्षणभरमै भंग भइहाल्थ्यो । मातेर फोहोर शब्द बोल्ने र झगडा गर्न तम्सने परिपाटी साँझदेखि मध्यरातसम्म मात्र होइन, दिउँसै पनि आम चलन बनेको रहेछ ।
एक दिन घुम्दैफिर्दै मेरो नवनिर्मित घर हेर्न र मलाई भेट्न भनी दुईजना साथीहरू आउनुभएको थियो । उही समयमा मेरो आफ्नै काकाको छोरा–भाइ मातेर हाम्रो संवाद भाँड्न खोज्यो । बडा मुस्किलले मैले उसलाई बाटो लगाएँ । यो हालत देखेर उनीहरूमध्ये एक मित्रले भने, ‘तपाईंहरू कहाँ पनि यो असाध्य रोग (दिउँसै मातेर हल्ला गर्ने) विस्तार भएकै रहेछ ।’
मैले उहाँलाई सोधें, ‘अन्त पनि त्यस्तै हो त ?’
उनले सहज हुँदै भने, ‘आम रूपमा यस्तै हो ।’

मेरो गाउँ हो– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको खुतुम्बु । गाउँमा मेरो घर बन्दै थियो । निर्माण सामग्री केही गाईघाटबाट, केही काठमाडौंबाट ओसार्ने काम भइरहेको थियो । घरेलु सामान, केही थान किताब, लुगाफाटा एउटा मिनी ट्रकमा हालेर एक दिन म घर हिडें । नियमित गाडी चल्ने कच्ची मूलबाटो छोडेर झन्डै एक–डेढ किलोमिटर ओह्रालोमा रहेको मेरो घर पुग्न साना दुई खोल्सामा केही थान ढुंगा हालेको मैले सर्वथा अनुचित चर्को मूल्य चुकाउनुपर्‍यो । त्यो मेरो मात्रै बाटो थिएन, सबै गाउँलेका लागि थियो । मर्दापर्दा, बिरामी हुँदा यस्तै निर्माण र अन्य काम गरिँदा प्रयोग हुने त्यो बाटोको मर्मतसम्भार हुँदा हामी सबै लाभान्वित हुने नै थियौं । तर, त्यस्तो सामाजिक सोचबाट गाउँ कोसौं दूर
थियो । एकअर्काप्रतिको अविश्वास चरम सीमामा पुगेको अनुभूति मलाई भएको छ । मेरो आफ्नै माइला दाइको नाति रोशन र बुहारी सुस्मिता गाउँमा बसेका थिए । उसकी सानी चिटिक्क परेकी नयाना (छोरी) पाँच वर्ष लाग्दैछे । घर बन्दै गरेकाले म उनीहरूको पाहुना बनेको थिएँ । गाँजा र रक्सी सेवन गर्नबाट ऊ पनि टाढा थिएन । गाउँका अरू केटाजस्तै ऊ पनि मात्नमा सामेल हुने गरेको थियो । बुहारी फ्रस्टेड देखिन्थिन् । ऊ काम मिहिनेतले गर्थ्यो । यद्यपि होसमा या बहोसमा ? भेउ पाउन गाह्रो थियो । मैले उसलाई धेरै सम्झाएँ । भने, ‘म पनि पिउँछु । म कुनै चोखोनितो मान्छे होइन । खाए पनि साँझ खाने हो, घुप्लुक्क सुत्ने हो । कराई–कराई हिँड्ने होइन ।’
उसले केही दिन मेरो कुरा मान्यो, हामी नाति–बाजेले साँझ घरमै सेवन गर्‍यौं पनि । तर, म काममा फर्किएपछि उसले पुरानो बानी छाडेन । सुस्मिता गाउँमा कुनै पनि मूल्यमा बस्न चाहिरहेकी थिइनन् । उनलाई रोशन गाउँमा बस्यो भने सुध्रँदैन र छोरीले घरछेउको स्कुलमा पढी भने कहिले शिक्षित हुन्न भन्ने भित्रैदेखि लागेको थियो । मैले उनीहरूलाई गाउँमै राख्न लाख कोसिस गरें, तर यस्तो दिन आयो– नानी लिएर सुस्मिता एक दिन काठमाडौं हिँडिन् । र, रोशन केही दिनपछि हाँडाभाँडा बोकेर काठमाडौं लाग्यो ।
अहिले ऊ बहराइन पुगेको छ परिवार धान्न । र, सुस्मिता छोरीसँग काठमाडौंमा छिन् । गाउँमा ओहोरदोहोर गरिरहँदा, युवायुवतीहरूसँग कुरा गरिरहँदा मैले महसुस गरेको विषय हो उनीहरूमा गहिरो अविश्वास दिलमै गढेको छ– गाउँको स्कुलमा पढेर कोही शिक्षित हुन सक्तैन, गाउँको स्वास्थ्यालयमा उपचार गरेर कोही निको हुँदैन । र, गाउँमा बसेर सुख र समृद्धिको कल्पना गर्न सकिँदैन । त्यसैको परिणाम हो, गाउँबाट युवा पलायन ।

बितेको एक वर्ष मैले गाउँमा डेढ दर्जन पटकभन्दा बढी ओहोरदोहोर गरेको छु । कहिले ट्रक रिजर्भ गरेर, कहिले भतिजहरूसँग मोटरबाइकमा, कहिले टाटा सुमो र बोलेरोमा । पछिल्लो पटक ससुराली भिसन रायमाझी र म गाउँ जान हिँडेका थियौं । दिप्रुङ–चुइचुम्मा गाउँपालिकाको पञ्चमीसम्म टाटा सुमो र बोलेरो गाडीहरू चल्छन् । हामीले गाउँ जाने दुईवटा सिट रिजर्भ गर्‍यौं, निर्माणाधीन घरको केही सामग्री बोकेर बाटो लाग्यौं । सहजै बात मार्दै दिक्तेल पुग्यौं । हामी दुईबाहेकका प्यासेन्जर दिक्तेलमै ओर्लिए ।
चालकले भने, ‘तपाईंहरू पनि ओर्लनुहोस् । अर्को गाडीलाई भनिदिएको छु, उसले मेल लैजान्छ । हामी जसको बढी प्यासेन्जर हुन्छ पालैपालो एकअर्काका लागि सहयोग गर्छौं । अन्यथा नमान्नु होला ।’ हामी गाउँठाउँकै भएकाले विश्वास गर्‍यौं र भाडा बुझायौं । तर, पछि आइरहेको जिप पूरै प्यासेन्जर लिएर आएको रहेछ । हामीलाई गाउँ लैजान ठाउँ नै थिएन । हामी सामानसहित अलपत्र पर्‍यौं । धन्न एक मात्र लोकल बस भेटियो र सकसपूर्वक अतिरिक्त भाडा तिरेर हामी बाटो लाग्यौं । यो गैरजिम्मेवारीपन तथा अल्प समयमा फाइदा उठाउने उनको त्यो सोचले हामी जस्ता भविष्यका ग्राहक भडकिएका थियौं ।
दिक्तेलमा बुधबार र शुक्रबार हाट लाग्छ । हटारुहरू गाउँ फर्कने साधन त्यही बस थियो । बस भरिभराउ थियो । आधाभन्दा बढी हटारुहरू पूर्णरूपले नशामा थिए । कोही गन्हायो भन्दै पिरलो पोखिरहेका थिए । कोही बसले गीत लगाएन भनेर पिरोलिरहेका थिए र चालकलाई गाली गरिरहेका थिए । लोकल मानिसलाई चिन्दै ‘तपाईंको घर आयो’ भनेर गाडीबाट ओराल्ने जिम्मा खलाँसी भाइले लिएको देखिन्थ्यो । कतिपयलाई त दुई–तीन जना मिलेरै बोकेर गाडीबाट ओरालेको देखिन्थ्यो । हाम्रो माझकिरातमा उहिले पनि बजारमा नशासेवन सामान्य नै मानिन्थ्यो । यद्यपि त्यतिबेला मतवाली होस् या तागाधारी छोरी–चेलीहरू मात्दैनथे र उनीहरू जिम्मेवार बनेर आफन्तलाई सुरक्षित घर पुर्‍याउँथे । यस पटक सरावरी मातेका देखिन्थे । पहिला जात विशेष बढी र अरू कम मात्ने भन्ने पनि हुन्थ्यो । यतिबेला सबै जातका महिला, पुरुषले सेवन गरेको भान हुन्थ्यो । चामत्कारिक समानता स्थापित भएझैं भान हुन्थ्यो ।

अलिकति इतिहासतर्फ फर्कौं । म हुर्कंदै गर्दा गाउँ भरिभराउझैं थियो । तर, सामन्ती थिचोमिचो र असमानता उच्च थियो । महेन्द्रीय भूमिसुधारले जापान, कोरिया तथा ताइवान किसिमको भूमिसुधार नगरे पनि मोहीहरूको हक स्थापित गरिदियो । र, गाउँमा जिम्मुवाल र मुखियाहरूको अतिरिक्त शोषण केही हदसम्म भए पनि कमजोर बन्न पुगेको थियो । २०२८ सालमा सुरु भएको नयाँ शिक्षा प्रणाली हाम्रो गाउँमा २०३२ तिर पुगेको थियो । सामुदायिक विद्यालयको शिक्षकको तलब–भार सरकारले जिम्मा लिएपछि गाउँलेले ठूलो त्राण पाएको महसुस गरेका थिए । हुन पनि निम्न मध्यम वर्गीय परिवारले आफ्ना बालबालिकालाई गाउँमै एसएलसीसम्मको शिक्षा दिलाउने अवसर उपलब्ध भएको थियो । तर, शैक्षिक जागरण जुन रूपमा जागृत भइरहेको थियो, तदनुरूप स्कुलहरू तथा पाठ्य पुस्तकहरूको अभाव थियो । विद्यालय पढ्न जति शुल्क तिर्नुपर्थ्यो र किताब कापी, कलम, मसीका लागि जे–जति खर्चनुपर्थ्यो त्यति रकम जुटाउन पनि गाउँमा धौ–धौ पर्थ्यो । गाउँ रोजगारी र बजारबाट धेरै टाढा थियो ।
ल ल ल
२०४६ सालमा सम्पन्न पहिलो जनआन्दोलनपछि पुनःस्थापित दलहरूले शिक्षा र स्वास्थ्यसम्बन्धी अभियान चलाए– स्वस्थ रहन अस्पताल र अर्थपूर्ण आधुनिक जीवन जीउन शिक्षा चाहिन्छ भन्ने । तर, भयो के भने २०४८ को पहिलो निर्वाचित सरकारले शिक्षा र स्वास्थ्यको थप व्ययभार राज्यले थेग्न सक्तैन भनेर बजारको जिम्मा लगायो । बजारले प्रत्यक्ष र राज्यले अप्रत्यक्ष रूपमा स्तरीय शिक्षा गाउँमा (त्यसमा पनि सार्वजनिक विद्यालयमा) प्राप्त हुनै सक्तैन र सरकारी अस्पतालले सबैलाई स्तरीय स्वास्थ्य उपचार दिन सम्भव छैन भन्ने प्रचार सुरु भयो । शिक्षा र स्वास्थ्य अब नाफा आर्जन गर्न उत्पादन गरिने बजारु माल (कमोडिटी) बने । धमाधम बोर्डिङ स्कुलहरू तथा निजी अस्पतालका खेती सुरु भए । निजी स्कुल र अस्पतालमा जान नसक्ने वा नचाहनेहरू निकम्मा, असभ्य ठहर्‍याइने संस्कार विकास हुन पुग्यो ।
त्यसपछि ग्रामीण क्षेत्रमा बसोबास गर्ने मध्यम र निम्न मध्यम वर्गीय कृषक परिवारको सामाजिक जीवन पद्धतिमा शृङ्खलाबद्ध नयाँ कठिनाइहरू वाई–प्रोडक्टका रूपमा थुप्रिँदै गए । बजारमा उपलब्ध शिक्षा र स्वास्थ्य सर्वसाधारणले खरिद गर्न नसक्ने गरी महँगियो । त्यसको असर परिवारको साइजमा पर्न गयो । धेरै छोराछोरी जन्माएर ‘जस्को जन, उस्को धन’ भन्ने गुजारामुखी खेतीपाती चलाउने पारिवारिक उक्तिलाई पूरै उल्टाइदियो त्यो महँगीले । परिवारको संख्या घट्नासाथ घरेलु जनावर पाल्ने (भैंसी, गाईगोरुदेखि हाँस–कुखुरासम्म) परम्पराको कडी ट्ट्युो । किनकि चरनमा लैजाने र घाँसपात गर्ने परिवारको संख्या ह्वात्तै घट्यो । त्यसको थप कडीका रूपमा कृषिमा प्रयोग गरिने प्राकृतिक मलको अभाव हुन पुग्यो । गाईभै‌ंसीको मलको अभावमा रासायनिक मल अत्यधिक रूपमा प्रयोग गर्नुपर्‍यो । यता बजारवादी सरकारले रासायनिक मल आपूर्ति गर्ने संस्थालाई नाफा आर्जन गर्ने कम्पनीमा रूपान्तरण गरिदियो । र, रासायनिक मलमा दिँदै आएको सहुलियत (सब्सिडिज) कटौती गर्‍यो । फलस्वरूप रासायनिक मलको दाममा अचाक्ली वृद्धि भयो र कृषि कर्म तथा उत्पादन लागत ह्वात्तै बढ्यो ।
स्तरीय शिक्षा, स्वास्थ्य प्राप्त गर्ने लोभ र कृषिमा आएको ह्रासले पहाडी मध्यम वर्गीय र निम्न मध्यम वर्गीय परिवार छोरीछोरीको शिक्षा र वृद्धवृद्धाको स्वास्थ्योपचार खोज्न लाखापाखा लाग्ने क्रम सुरु भयो । अधिकांश राजमार्ग वरिपरिका मानिस मधेश झरे । अलिकति राम्रो बन्दोबस्ती र पारिवारिक लहरो उपत्यका र अन्य सहरसँग जोडिएकाहरू उतैतिर बन्दोबस्ती गर्नतर्फ लाग्न थाले । अलिकति पढेलेखेका, अलिकति सु–संस्कृत भनिने कुलीन परिवारहरू पहिले बाटो लागे । दाजु–भाइ, नरनाता कुल–कुटुम्बलाई मर्दाको मलामी र बाँच्दाका जन्तीहरू पछि लागे । त्यो सिलसिला अझै रोकिएको छैन, रोकिने छाँटकाँट पनि देखिँदैन ।
माओवादीे ‘जनयुद्ध’ ले बढ्दो बसाइँसराइमा थप आगोमा घिउ थप्यो । बसाइँ हिँड्न बाँकी रहेका केही निम्न मध्यम वर्गीय किसान र भूमिहीन कृषि मजदुरको एउटा समूह ‘जनयुद्ध’ मा जोडियो । त्यसपछि जनयुद्धको विस्तारलाई रोक्न राज्यपक्षबाट सेना परिचालन हुन पुग्यो । यो दोहोरो भिडन्तमा गाउँमा अल्झिरहेका मध्यम तथा निम्न मध्यम वर्गीय परिवारजन विभिन्न हिसाबले प्रताडित हुन पुगे । कतिपय भयभीत । सबैभन्दा बढी त युवायुवतीहरू दुवैतिरको तारो बन्न थालेपछि परिवारले पलायन रोज्नु स्वाभाविक थियो । युवायुवतीको गन्तव्य वैदेशिक रोजगारी भएपछि उनीहरूको कमाइ पनि परिवारजनसँगै बसाइँ सर्‍यो र पहाडी गाउँहरू लगानी शून्य बन्दै गए ।
हो बसाइँसराइ तीव्र बनेको छ । २०४८ सालअघि ७८ घर रहको मेरो टोल (पुरानो वार्ड) मा हाल १५ घरधुरीमा मात्र बसोबास छ । केही घरमा वृद्धवृद्धासँगै हुर्कंदै गरेका किशोर–किशोरी छन् । बितेका डेढ–दुई वर्षमै केही वैदेशिक रोजगारीमा लागे । जस्तो मेरो आफ्नै नाति । कोही पासपोर्ट, टिकट र भिसा प्रक्रियामा जुटेका छन् । गाउँ एउटा रेलवे स्टेसनमा बदलिएको छ । गाउँलेहरू यात्रु हुन र गन्तव्यमा पुग्न छोटो समयका लागि प्लेटफर्ममा रेल पार्खिरहेछन् । म आफैं संलग्न भएर एक वर्षअघि गराएको नेपाल वैकल्पिक अध्ययन समाजको घरधुरी सर्भेअनुसार, मेरो आफ्नै गाउँपालिकामा ४० प्रतिशत आवाद जग्गा बाँझो पल्टेको थियो । विप्रेषणबाट आएको रकमले घरेलु गर्जो टार्ने (दाल चामल, बच्चाबच्चीको शिक्षा र स्वास्थ्य) कुल ४ हजार ७ सय ६५ घरधुरीमध्ये ४ सय ९६ अर्थात् लगभग ११ प्रतिशत घरधुरी मात्र विप्रेषणमा भर पर्ने गरेका देखिन्थे । यसको अर्थ हरेक वर्ष, हरेक महिना युवायुवतीले गाउँ छोड्ने क्रम जारी छ । छोराछोरीको कमाइको आससँगै बसाइँसराइ तीव्र बनेको छ र बसाइँ सरेकै ठाउँमा उनीहरूको कमाइ पनि सरेको छ ।
२२ वटा झुरुप्प घर भएको मेरो आफ्नै दाजु–भाइको टोलमा हाल हामी ५ घर आवाद छौं । कच्ची घरहरू स्याहार सम्भारको अभावमा जीर्ण, कुरूप र धराप बन्दै छन् । कुपोषणका कारण वृृद्ध, दीर्घरोगी र विभिन्न कारणले वैदेशिक रोजगारीमा जान नपाएका केही निराश, हतास युवायुवती बाँकी छन् मेरो गाउँमा । उनीहरू आफ्नो असन्तुष्टि गाँजा र रक्सीसँग विनिमय गरेर दुःख भुलाउन चाहन्छन् । १५ घर जो हामी टिकिरहेका छौं, अधिकांश आर्थिक तथा सामाजिक रूपमा मात्र होइन सांस्कृतिक रूपमा समेत निकृष्ट पछौटेपनको सिकार हुन पुगिरहेका छौं । हाम्रो समाजलाई मार्क्स र एंगेल्सले भनेजस्तो लम्पटीकरणले (लुम्पेन प्रोलेटारिएट) गाँजिरहेको अनुभूति भइरहेछ ।


उहिले जस्तो आठ/दस दिन लगाएर पिठ्युँमा ढाकर बोकेर परिवारलाई चाहिने नुन–तेलको वार्षिक जोहो गर्नुपर्ने अवस्था अहिले छैन । माध्यमिक विद्यालय पढ्न डेरा खोज्ने गरी अर्को गाउँ वा बजार जानुपर्ने अवस्था पनि छैन । तर गाउँलेहरूलाई मात्र होइन, माध्यमिक विद्यालयका प्रधानाध्यापकज्यूलाई समेत आफूले पठनपाठन गराइरहेको विद्यालयमा पढेर आफ्ना र गाउँलेका छोराछोरीले सहर बजारका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन् र भविष्यमा आफ्नो र परिवारको पेट पाल्लान्, बुढेसकालको सहारा बन्लान् भन्ने एकरत्ति विश्वास देखिँदैन । अधिकांश किशोर किशोरीहरूको आकर्षण मोबाइलमा देखिन्छ । अंग्रेजी रोमनमा र नेपाली साँवा अक्षरमा म्यासेज च्याट गर्न जान्यो भने गाउँमा न्यूनतम शिक्षा मानिन थालिएछ । एसईई दिए पनि, १२ पढे पनि जाने जीविकाका लागि खाडी र मलेसिया नै हो भने खर्च गरेर किन पढ्ने भन्ने मानसिकता आजका गाउँले युवापुस्तामा देखिन्छ । त्यसैले गाउँका शिक्षालयहरू विद्यार्थीविहीन बन्दै गइरहेछन् ।
हिजोआज प्रायः गाउँमा वा गाउँ बिराएर स्वास्थ्य चौकीहरू छन् । यद्यपि सरकारले सित्तैमा दिने भनिएको ३२/७६ औषधि सर्वसाधारण गाउँलेले पाउन निकै गाह्रो छ । पाए पनि मिति सकिएका औषधि सेवन गर्नुपर्ने हुन सक्छ । कतिपय ठाउँमा हेल्थ असिस्टेन्ट नहुन सक्छन् । प्रसूति गराउने सम्भावना जिल्लाको पुरानो सदरमुकामबाहेक अन्त सम्भव देखिन्न । हो, आम मानिसमा अस्पताल जानुपर्छ भन्ने चेतना छ, तर आफ्नै गाउँमा अवस्थित जनस्वास्थ्य उपलब्ध गराउने हेल्थपोस्टमाथि विश्वास पटक्कै छैन ।
जताततै बाटो खनिएको छ । तर, सार्वजनिक यातायातको कुनै प्रबन्ध छैन र चल्न सक्ने सम्भावना पनि छैन । किनकि यात्रु नभएपछि कसले गाडी हाल्ने ? बाटोको अर्थराजनीतिबारे बाटोका योजनाकारहरूले कुनै पनि हिसाबले सोचेको देखिन्न । न पर्यावरणीय हिसाबले न आर्थिक हिसाबले । पालिकाहरूबाट निर्माण गरिएका अधिकांश यी बाटाहरूले पानीको मूल मास्न सहयोग गरेका छन् एकातर्फ भने अर्कोतर्फ बाढीपहिरोको अजश्र स्रोत ।
फेरि पनि गाउँको ठूलो समस्या भनेको जमिनमाथिको स्वामित्वको प्रश्न नै हो । जो सुरुमा बसाइँ हिँड्यो उसले/उनले जग्गाको मूल्य लिएरै बाटो लागे । बिस्तारैबिस्तारै अन्य बसाइँ हिँड्नेहरूले जग्गा बाँझो राखेर हिँडे । जो बसेका छन् उनीहरूसँग न जग्गाको स्वामित्व छ, न त ज्ञान सीप र शिक्षा । न त व्यवस्थामा (स्थानीय सरकार, राज्य सरकार र संघीय सरकार) कुनै प्रकारको पहुँच । न त आम जागरणका लागि काम गर्ने भनेर बडबोली बोल्ने राजनीतिक पार्टीहरू र गैरसरकारी संस्था । तिनले कसरी जीवनयापन गर्ने भन्ने सम्बन्धमा न त योजना बुन्छन्, न त कार्यक्रम नै आउँछन् ।

केही दिनअघि जिल्ला सदरमुकाममा केही मूर्धन्य पार्टीका जिल्लास्तरीय नेताहरूसँग गाउँघरमा व्याप्त राजनीतिप्रतिको निराशाबारे चर्चा चलाएको थिएँ । उनीहरूको सबैजसोको जवाफको सार एउटै थियो, ‘यो मुलुकभरिकै समस्या भएकाले बढी केन्द्रीय समस्या हो । हामीले विकास, निर्माण र ग्रामीण अधिकारका लागि लडिरहेका छौं र लडिरहने छौं । प्रतिस्पर्धात्मक राजनीतिमा हामी छौं तर यो त केन्द्रीय समस्या हो केन्द्रले नै पहल गर्नुपर्छ ।’
संघ र प्रदेशमा जस्तै स्थानीय सरकारमा पनि एउटा विशिष्ट वर्गको पहुँच बाक्लो छ । जोसुकै सरकारमा आओस् आयाराम गयाराम हुँदै सत्ताको तर मार्न त्यही वर्ग लालायीत हुन्छ । त्यो वर्ग विसं २०५८ मा शेरबहादुर देउवा सरकारले निर्वाचन गर्न नसकेपछि सर्वदलीय सहमतिको नाममा जन्मिएको थियो । अहिले पनि उनीहरूकै पकड बलियो छ । नियमन (रेगुलेसन), नियन्त्रण, सुशासनको अभावमा मेरो गाउँको लम्पटीकरण भइरहेछ, तर सबै सरकारहरू त्यसप्रति आँखा चिम्लिएर सघाइरहेको अनुभूति भइरहेछ ।

 

Page 12
कोसेली

के उमेर फगत एक अंक हो ?

- अनुपम रोशी

 

महाकालीमा बगिरहेको पानी र डुब्नै आँटेको घाम दुवैलाई पालैपालो हेर्छु म । अँगालोभरिको सूर्य अलि पर चाँदनी गाउँको सानो बस्तीमा बिस्तारै खसेजस्तो लाग्छ । सूर्य त्यहीं कतै विलीन हुन्छ । म उभिएर एकछिन अँध्यारिँदै गएको आकाशको लालिमा हेरिरहन्छु । किनकि केटाकेटी छँदा मलाई पश्चिममा त ढिलो रात पर्छझैं लाग्थ्यो । अर्थात् सूर्य अस्ताएको आँखैले देखिन्छ होला जस्तो अनुभूत हुन्थ्यो । तर, महाकाली नदीको झोलुंगेपुल दोधारा–चाँदनीमा उभिएर हेर्दा पनि त छुन नसकिने रहेछ सूर्यलाई ।
त्यसपछि नदी छेउछाउ टल्किएका सेता ढुंगाहरूले मलाई आकर्षित गर्छन् । नदीमा पसेर झोलाभरि ती सेता ढुंगा बटुलुँजस्तो लाग्छ । कताकता बगेर गएको समयको याद आउँछ । इन्द्रावतीको किनारमा यस्तै गोलढुंगा बटुलेका दिन र आजमा निकै फरक थियो । केही मीठो र केही दिक्कलाग्दो अनुभूति समेटेर पुलका टुट्दै गरेका फलामका पटरी र पटरीमुनिबाट बगेको नीलो पानी नियाल्दै म महेन्द्रनगर फर्किएँ ।
साँझ पाँच बजिसकेको थियो, काठमाडौंका लागि गाडी चढें ।
यो यात्रामा म एक्लै थिएँ । एक्लै हिँड्नुको आनन्द पनि बेग्लै हुने गर्छ कहिलेकाहीं । र, त हिँडिरहन्छु एक्लै एक्लै– पूर्व एक्लै, एक्लै पश्चिम र एक्लै एक्लै उत्तरतिर पनि । बिस्तारै गाडी गुड्यो र छुट्यो महेन्द्रनगर बजार । छुट्यो दोधारा–चाँदनी र त्यो घामको सौन्दर्य । र, छुट्यो गोल ढुंगाका आकार, नदीका किनारहरू, खोंच–भन्ज्याङहरू र घुम्तीहरू । समथर भू–भाग, फेरि पहाड अनि घनाजंगल उसैगरी हिँडिरहे, एकले अर्कोलाई पछाडि पार्दै ।
धनी र गरिबको सीमा कोर्न सक्षम मान्छेहरूले छुट्ट्याएको एउटै माटो माथिको विभाजित चिहानघारी देख्दा मलाई बडो आश्चर्य लागिरह्यो । माटोले पुरिँदा पनि किन छुट्ट्याउनुपर्ने होला चिहानघारी ? के माटोमुनि परेपछि पनि लडाइँ गर्न सकिन्छ ?
साँध लगाइएको जंगलछेउ र छुट्टाछुट्टै चिहानघारी हेरिरहँदा आफू उभिएको एक टुक्रा माटो पनि आफ्नै कहाँ रहेछ र ? मन उदास भयो । यो मानव सभ्यताको चक्र कति कठिन, कति भयावह ? तारबार बारेर छुट्ट्याइएको सीमाभित्र प्रवेश निषेध लेखिएजस्तै हेर्दै हिँडेको जंगल, खोला–नाला, भीर–पहरा केही पनि त आफ्ना रहेनछन् । अनि कसरी हुन सक्छ अरूसँग गरेको प्रेम आफ्नो ? साँध लगाएपछि सिंगो धर्ती नै विभाजित हुने समाजमा म आफ्नो अस्तित्वको सग्लो परिभाषा खोज्दै हिँडिरहेकी छु ।
हुन त सबै भ्रम हो । नियन्त्रण गर्न खोजेर समुद्र पुग्ने नदी, नियन्त्रित भएको कहाँ छ र ! मान्छेको जिन्दगी पनि त नदी जस्तै छ, कुनै स्थिर आकार नभएको यात्रा...!
फेरि पनि रोकिन्छन् बग्दै गरेका रहरहरू । निमेषभरमै टुट्छन्, उड्दै गरेका सपनाहरू । लाछिन्छ, आफ्नै निजत्व समयको अगाडि । यिनै सवालका जवाफ खोज्न हिँडेकी त हुँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म । तर, त्यही साँध र सिमानाहरूसँग जुधिरहें जहाँ पनि र पटकपटक मूर्ख भइरहें आफैंसँग । यहीबीच म चढेको गाडी एकाएक रोकियो र यतिका समय खाली रहेको मसँगैको सिटमा कोही आएर बस्यो ।
अब भने मेरो यो यात्राको स्वतन्त्र बसाइ केही साँघुरियो । ‘दुईवटै सिटको टिकट काटनुपर्ने रहेछ’ भन्ने पनि लाग्यो । एउटा अमेरिकन फौजीजस्तो युवकले उक्त सिटमा कब्जा जमाइसकेको थियो ।
तर, म गुडिरहेको गाडीको बन्द झ्यालबाट बाहिर देखिरहेछु– मान्छे पोल्ने घाट, चिहानघारी, सुकुम्बासी बस्तीहरू, जो तँछाडमछाड गर्दै कुदिरहेका छन् । अव्यवस्थित जिन्दगीको परिभाषा जहाँ पुगे पनि उस्तै देखिन्थे र छुट्दै जान्थे ।
बिस्तारै अँध्यारो थपिँदै गयो र सुरु भयो जंगलको अँध्यारो यात्रा । म आँखा चिम्लेर निदाउने प्रयास गर्न थालें ।
– ‘हजुर कहाँसम्म हो ?,’ सँगै सिटमा बस्न आएको युवक गफिन खोज्यो । म नसुने जस्तो गरेर बसिरहें ।
– ‘हजुर पुग्ने काठमाडौं नै हो ?,’ उसले फेरि सोध्यो । मलाई ऊसँग गफ गर्न मनै थिएन । तर, ऊ सजिलै हार मान्नेवाला थिएन । मैले आँखा नखोली ‘हो’ भनेर टाउको हल्लाएँ ।
– ‘कहाँबाट आउनुभएको नि ?,’ ऊ अझै चुप लागेन ।
– ‘महेन्द्रनगरबाट,’ मैले छोटो जवाफ दिएँ ।
– ‘घर नै त्यतै हो हजुरको ?’
– ‘होइन बुटवल हो ।’
– ‘ए हो र ? ल म पनि बुटवलकै हो । बुटवल कहाँ नि ?,’ उसले फेरि सोध्यो ।
– ‘केही भित्र पर्छ ।’
– ‘कता सालझन्डी ?’ मैले भन्न नपाउँदै उसले सोध्यो ।
– ‘हो ।’
– ‘ल मेरो पनि त्यहीं हो । छिमेकी पो पर्नु भएछ ।’
वर्षौंपछि भेटिएको साथीजस्तो उसको अनुहारमा एउटा खुसी छचल्किएको अनुभव गरें । मलाई पनि कता–कता ठिकै लाग्यो– गाउँले केटो नै रहेछ, धेरै डिस्टर्ब नहुने भयो ।
– ‘के गर्नुहुन्छ नि काठमाडौंमा ?’
– ‘लेखपढ गर्छु ।’
– ‘मैले पनि पिपुल्स डेन्टल कलेजमा पढ्दै छु ।’
ऊ मुस्कुरायो । मुस्कुराउँदा उसका उचालिएका आँखीभौं केही खुम्चिएर नशालु देखिए । अमेरिकन फौजीजस्तो जीउडाल भएको युवक झनै सुन्दर देखियो ।
केही घण्टा मौनता छायो, सम्भवतः ऊ पनि निदाउने प्रयास गरिरहेको थियो । रात्रिकालीन बसको लामो यात्रा यसै पनि पट्यारलाग्दो हुन्छ । त्यसमाथि मेरा छोटा खुट्टा झुन्डिएर सुन्निन थालिसकेका थिए । दुवै खुट्टा माथि राखेर बस्दा उसलाई डिस्डर्ब हुन्थ्यो । म पालैपालो एउटा–एउटा खुट्टा खुम्च्याएर सिटमा राखिरहेकी थिएँ । त्यसबेला ऊ ब्युँझिन्थ्यो सोध्थ्यो– गाह्रो भयो तपाईंलाई ? म ‘ठिकै छ’ भन्थें र पुनः आँखा चिम्लिन्थें । त्यसपछि उसले मेरा दुवै खुट्टा एकैपटकमा उचालेर आफ्ना खुट्टा माथि राखिदियो र भन्यो, ‘तपाईंलाई गाह्रो भयो भने यसरी बस्नुस् केहीबेर ।’
उसको यस्तो व्यवहार मलाई अप्ठ्यारो लाग्यो । मैले तुरुन्त खुट्टा हटाउन खोजें, उसले बलियोसँग मेरो खुट्टा समातिरह्यो ।
– ‘ल के गर्नुभएको ? छोड्नु ।’
– ‘तपाईंलाई धेरै गाह्रो भइरहेको छ । सजिलोसँग बस्नु न । केही फरक पर्दैन, यसै पनि हामी एकै गाउँठाउँका रहेछौं ।’
घरिघरि ऊ गाडी रोकिएको ठाउँमा झर्थ्यो र त्यहाँ पाइने मःम, चिया किनेर ल्याउँथ्यो । मलाई पनि ‘खानु न’ भनेर दिन्थ्यो । म पन्छिन खोज्थें, तर उसको ढिपी कडा हुन्थ्यो । म निदाएर झ्यालमा ठोक्किन पुग्थें । उसको हात पहिले नै मेरो टाउको सेभ गर्न पुग्थे । श्रीमती या गर्लफेन्डलाई जस्तो कति केयर गर्न सकेको ? उसको ‘केयरिङ्ग व्यवहार’ ले आकर्षित पनि गरिरहेको थियो । उसकै काँधमा सुतेर काठमाडौं पुगुँजस्तो पनि लागिरहेको थियो ।
रात छिप्पिँदै थियो । हाम्रो यात्रा पनि रोमाञ्चक मोडमा पुग्दै थियो । चाहेर–नचाहेर हामीहरू न्जिकिँदै थियौं । एसीको चिसो बढेपछि दुवैले आ–आफ्नो सिटको ब्ल्याङ्केट झिकेर ओढ्यौं । त्यसपछि त उसले बिस्तारै मेरा हात आफ्नो हातमाथि राख्यो । एक पटक म तर्सिएँ । तर, के गर्दोरहेछ हेरौं न भन्ने लाग्यो ।
– ‘कति सानो हात,’ उसले सुस्तरी भन्यो ।
मैले नसुनेजस्तो गरें । मेरा साना हात उसका ठूला पन्जाभित्र यत्तिकै ह
राएका थिए । उसले प्रेमले मेरो दाइने हात आफ्नो मुट्ठीमा कैद गरेर थपक्क बसिरह्यो । तर, कुनै अश्लील हर्कत गरेन । लाग्यो, यो मीठो भावना हो, फरक आनन्द हो, जुन मैले पनि अनुभव गरिरहेकी थिएँ । मैले प्रतिरोध नगरेपछि उसले मेरो हात ढुक्कैले समातेर बसिरह्यो । मलाई साँच्चै प्रतिरोध गर्न मन लागेन । त्यो रोमाञ्चक अनुभूति थप रोमाञ्चक भइदियोस् जस्तो नै लागिरह्यो ।
त्यसअघि अपरिचित मानिससँगको यात्रामा कहिल्यै यस्तो भएको थिएन । नजिक छोइँदा पनि भाउन्न भइरहन्थ्यो । ‘सीधा बस्नुस्’ भनेर कत्ति पटक थर्काइसकेकी हुन्थें । तर, यतिबेला मलाई केही भन्न मन लागेन । बरु अझ टाँस्सिएर बसूँजस्तो, अँगालोमै गएर निदाउँजस्तो, रात कहिल्यै अन्त्य नहोस्जस्तो भइरह्यो ।
पत्तै नपाई गाडी धार्के पुगिसकेछ । नौबिसे उक्लिनुअघि चिया खान रोकिँदा पो हामी झसंग भयौं । गाडीमा बत्ती बलेपछि उसले मेरो हात छोडिदियो । म पनि उसको काँधबाट उठेर केही थाहा नपाएजसरी जीउ तन्काउन थालें ।
– ‘ला कति छिटो काठमाडौं आउन थालेछ,’ यत्ति भनेर ऊ ट्वाइलेट गयो । मलाई कता–कता आफैंसँग लाज लागेर आयो । म कति कमजोर मनस्थितिबाट गुज्रिरहेछु जस्तो अनुभव भयो । बिहानको चार बजिसकेको थियो । २० मिनेट रोकिएपछि गाडी फेरि हिँड्न थाल्यो ।
– ‘तपाईंको उमेर कति हो ?’ अब मैले नै उसको उमेर सोधें ।
– ‘ट्वान्टी सिक्स रनिङ्ग,’ उफः म भित्रभित्रै हाँसे । बिचरा दस वर्ष सानो बच्चो पो रहेछ । म पूरै छाँगाबाट खसेजस्ती भएँ । अघिसम्मको आकर्षण र रोमाञ्चकता अभिभावकत्वमा बदलियो ।
– ‘निकै सानो भाइ पो हुनुहुदो रहेछ,’ हाँस्दै भने ।
– ‘होइन होला’, ऊ जिल्ल पर्‍यो ।
– ‘तिमी मभन्दा दस वर्ष सानो छौ भाइ !’ म ‘तपार्इं’ बाट सीधै ‘तिमी’ मा ओर्लिएँ ।
– ‘हेर्दा त त्यस्तो लाग्दैन । ढाँट्नुभयो मलाई ?,’ ऊ मान्नै तयार भएन ।
– ‘नलागेर के गर्नु ! म छत्तीस रनिङ्ग छु ।’ ऊ एकछिन मौन भयो ।
यात्रा अब सकिनेक्रममा थियो । नौबिसेको धुम्तीमा हामी जुधिरहेका थियौं । अब पहिलेको रोमाञ्चकता गायब भइसकेको थियो । उसले फेरि मेरो हात च्याप्प समात्यो र भन्यो, ‘प्लिज डोन्ट कल मी ब्रदर ।’
अहो, एकाएक बसको यात्रामा भेटिएको मान्छेसँग के गरी हिँडेकी म ? मलाई भाउन्न भयो । हात झट्कारें र भनें, ‘के गरिराको ?’
त्यो अग्लो युवकले टेरेन । मेरो टाउकाको सबैभन्दा माथि समातेर बिस्तारै चुम्बन गर्‍यो र भन्यो, ‘मलाई तपाईं मनपर्‍यो । आई रिएल्ली लाइक यू ।’
‘वाहियात् । बिह्याव योरसेल्फ,’ मैले ऊतिर औंला उठाएर भनें । उसलाई लिएर मेरो मनमा नकारात्मक भाव पैदा भयो ।
‘तिमी मेरो छिमेकी पनि होइनौ र सम्भवतः डेन्टल कलेज पनि पढ्दैनौ,’ म रिसले आगो भएँ । उसले आफ्नो परिचयपत्र निकाल्यो र मेरो हातमा थमायो ।
‘परिचय पत्र त ठीकठाक छ । के थाहा अरू कसैकोमा आफ्नो फोटो टाँसेर हिँडेको पो हो कि ?’
‘ओहो कत्ति विश्वास नगर्नुभएको, ल यो पनि हेर्नुस्,’ उसले नागरिकता र लाइसेन्स निकालेर मेरो हातमा थमायो । मैले उसको नागरिकताको नाम हेर्न पुगें ।
‘यो त फेक गराउन मिल्दैन नि’, ऊ केही निराश हुँदै बोल्यो ।
‘ठिकै छ राख्नुस् । तपाईं सही नै हुनुहुँदो रहेछ, मानें । तर, म तपाईंलाई मन पराउन सक्दिनँ नि । तिमी धेरै पछि जन्मियौ भाइ ।’
‘जेसुकै होस, मेरा लागि एज डजन्ट मेटर । एज इज जस्ट अ नम्बर । कृपया मलाई भाइ नभन्नु होला । हामी दिदीभाइ होइनौं’, ऊ झोक्कियो र मौन भयो ।
म ओर्लने बेला हुँदै थियो । झोलाहरू मिलाउन थालें । ‘हजुरको झर्ने बेला भएको ?,’ ऊ नम्र भएर फेरि बोल्यो । ‘हो,’ मैले टाउको र ओठ एकै पटक हल्लाएँ ।
‘प्लिज तपाईंको परिचय त दिनुस्,’ ऊ थप निराश हुँदै बोल्यो । म केही बोल्न सकिनँ । ‘प्लिज नेम मात्रै भए पनि भन्नुस् न । म तपाईलाई बिर्सिन सक्ने छैन,’ उसको आवाजमा मैले कम्पन महसुस गरें । तर, म केही बोल्न सकिनँ । ‘एक पटक मेरो आँखामा हेर्नुस् त । के मैले झूट बोलिरहेजस्तो लाग्छ ?,’ उसले भन्यो ।
मैले उसको आँखामा हेर्नै सकिनँ । मेरो ओर्लने ठाउँ आइपुग्यो । लामो सास तानेर चुपचाप निस्किएँ । मीठो सपना देखेर ब्युँझिएँजस्तो भएर घर पुगें । ‘प्लिज नेम त भनेर जानुस्’ भनेको याद आइरह्यो । एकछिनसम्म झोला समातेर तानेको पनि सम्झिरहें ।
घर पुगेपछि कैयौं पटक सोचें– पिपुल डेन्टल कलेजमा गएर भेटूँ कि ? तर, उसलेजसरी म कसरी भन्न सक्छु कि दस वर्ष सानो फुच्चेलाई– एज डजन्ट मेटर, इट इज जस्ट अ नम्बर !
त्यही ठाउँमा १० वर्ष जेठो पुरुष भएको भए म सजिलै उसलाई आफ्नो परिचय दिएर आउँथे सायद । भन्थे पनि होला– म पनि तपाईंलाई मन पराउँछु । तर, समाजले मलाई यति संकुचित बनाएको छ कि आफूभन्दा सानो उमेरको मान्छेसँग भावना जोडिनु अपराधै हो जस्तो लाग्छ ।
अकस्मात् घटेका घटना पनि यति अविस्मरणीय भइदिन्छन् कि जसलाई चाहेर पनि नलेख्न सकिन्नँ । म चाहन्छु, उसको स्मृति यो अक्षर र शब्दहरूमा कुदिएर रहोस् । उप्रान्त मलाई उसको अनुहार याद नआओस् । किनभने भेट भयो भने म उसलाई सायद ‘भाइ’ सम्बोधन नगर्न सक्छु ।

 

कोसेली

चिन्तनका फरक आयाम

- राजेन्द्र तारकिणी

 

कवि अमृता स्मृतिको कविता–किताब ‘नदीको तिर्खा’ मा नेपाली समाजमाथि विमर्श छ । आफूले भोगेकै समयलाई कवितामा उनेकी छन् उनले । किताबको शीर्षक नै अनौठो छ । नदी, जो आफैं पानीले परिपूर्ण छ, उसलाई केको तिर्खा ? तर, स्मृति भन्छिन्– ‘नदीको पनि तिर्खा छ, सागर भेट्ने तिर्खा ।’ यो आफैंमा विम्बमय त छँदैछ, प्रणय भाव एवं जीवन दर्शन पनि छचल्किन्छ । हरकोहीको तिर्खा हुन्छ– कसैको सामीप्य, समागम या जीवनको लक्ष्य/गन्तव्य प्राप्त गर्ने । कतै/कसैमा पुगेर विलीन हुने या भनौं मोक्ष प्राप्त गर्ने ।
कविता पनि इतिहासको अभिलेखन हो । कवि बाँचेको
समय, परिवेश एवं समाज कवितामा जीवन्त भएर चित्रित हुन्छ । अमृताका कवितामा सरल भाव गाम्भीर्य रूपमा छचल्किएको छ । प्रेम, प्रकृति, सहअस्तित्व एवं मानवीय उदात्त भावना, लैंगिक एवं वर्गीय पक्षधरता, समसामयिक विषय, जीवन दर्शन, भोगाइका आँखिझ्यालबाट चिहाइएका समयका सुन्दर गोरेटा उनका कवितामा छर्लङ्गै छन् ।
स्मृतिको काव्यचेतना बनावटी छैन । सचेत कलम चलाउँछिन् उनी । राजनीतिक विसंगतिलाई घुमाउरो पाराले प्रहार गर्ने कला छ उनमा । कोरा नाराजस्ता कविता उनलाई मन पर्दैन । आदर्श समाजको सुन्दर परिकल्पना कवितामा छ । तर, कोरा आदर्शको व्याख्यान छैन । यो कविको कला पनि हो । विकृति, विसंगति, बेथिति, झूट, लुट, छलकपटजस्ता कुभावनाप्रति उनको शालीन व्यंग्य–विद्रोह छ । अक्सर कवितामा नयाँ युग, सुन्दर समय र समाजको खोजी छ । कवितामा हुनुपर्ने गुण, भाव, विचार, विम्ब, कला, शैली–शिल्प सबै छन् र त उनका कविता पठनीय छन् ।
संग्रहभित्रको ‘मालिक’ कविता सामाजिक यथार्थ बताउने सुन्दर कविता हो । एक अनाथ बालिकालाई सम्पन्न परिवारका निःसन्तान दम्पतीले आश्रय दिन्छन् । घरका तमाम काममा जोतिएर भए पनि बालिका विद्यालयको मुहार देख्न पाउँछे, खुसी छे । तर, जब मालिक्नीको कोखबाट सन्तान हुने अवस्था आउँछ, तब बालिकालाई ससाना निहुँमा पिट्ने र घरनिकाला गर्ने हर्कत सुरु हुन्छ । समाजमा व्याप्त उँचनीच, वर्गीय विभेद एवं गरिबमाथि आइलाग्ने विपत्ति र तथाकथित ठूलाहरूले गर्ने व्यवहारको चित्रण सुन्दर शब्द–विम्बमा यहाँ चित्रित छ ।
‘मैनाको आधुनिक गीत’ मा समाजले नारीलाई दिएको स्थान टड्कारो छ । जन्मघर छाडेर परायाघर जानुपर्ने छोरीचेलीको नियति दर्शाउँदै पुरुषसत्ताको तथाकथित ‘देवत्व’ लाई पूजा गरेर बस्नुपर्ने अवस्थाको अन्त्यको चाहना यस कवितामा छ ।
‘दृष्टि’ मा एउटी प्रेमिकाले प्रेमीलाई आफ्ना भावना तस्बिरमार्फत पठाउँदा आएको अप्रत्याशित जवाफले प्रेमिका हैरान छिन् । कवि स्मृति सपनाबिनाको नीद, मस्तिष्कबिनाको मुटु, चेतनाबिनाको प्रेम र भित्ताबिनाको घरको परिकल्पना गर्छिन् । र, भन्छिन्– प्रेमको कुनै आवश्यकता हुँदैन, सर्त हुँदैन, उमेर हुँदैन ।
संग्रहमा समेटिएका ५० थान कविता आयामका हिसाबले अत्यन्त छोटा र मझौला छन् । ‘कुर्चीको मान्छे’ कवितामा कुर्चीमा बसेको मान्छेभन्दा आममान्छे र बरु ढुंगामाटो नै सुन्दर एवं स्तुत्य छ भन्ने भाव छ । ‘नयाँ समय’ कवितामा नयाँ आशा र परिवर्तनप्रतिको चाहना छ । ‘जलनको शिखा’ मा अर्काको रिस–डाह गर्ने मान्छेको आफ्नै मन पोल्छ, अर्काको केही जलाउन सक्दैन भन्ने जीवनदर्शन छ ।
‘बादलको वीर्य’ प्रकृतिलाई मानवीकरण गरिएको प्रतीकात्मक प्रणयभावको कविता हो । ‘सेतो संग्रहालय’ कविता नारीहरूले भोग्नुपर्ने वैधव्य जीवनको मर्मस्पर्शी चित्र हो । यस कवितामा देशलाई पनि रङ लुटिएकी आइमाईसँग तुलना गरिएको छ । कवि भन्छिन्–
के आइमाईहरूसँग
आफूलाई रंग्याउन सक्ने रङ हुँदैन हो ?
कि लुट्छन् लुटेराहरूले ?
त्यसो हो भने
मेरो देश पनि आइमाई हो
जसको रङ युगौंदेखि लुटिरहेछौ तिमी । (सेतो संग्रहालय, पृष्ठ ९९)

अमृताका कविता नदीझैं सलल बगेका छन् । सरल छन् र भावमा मिठास छ । विषयवस्तुमा विविधता छ । सूक्ष्म अनुभूति र चिन्तनका विविध आयाम छन् । प्रस्तुतिमा फूलजस्तै सुकोमलता छ ।
नदी बग्दैजाँदा यदाकदा आइदिने अनपेक्षित मोडजस्तै कतैकतै उनका कवितामा पनि विम्ब, सिलसिला र भावमा मोडहरू आउँछन्, उदाहरणका लागि–
म मख्ख पर्थें
मानौं म नै हुँ भिन्ची
मानौं म नै हुँ साल्भाडोर डाली
मानौं म नै हुँ अरनिको
लाग्थ्यो, म सलाई हुँ
अलिकति तिमीसँग कोरिएँ भने बल्छु । (कागजको जहाज, पृष्ठ ३०)
यस कवितामा विद्यालय जीवनको साथीको स्मृतिविम्ब छ । आफूले उसका लागि चित्र बनाइदिने गरेको र उतिबेला आफू नै महान् चित्रकार बनेजस्तो सन्तुष्टि हुने गरेको भाव छ । अचानक सलाईको विम्ब आउँछ । ऊसँग कोरिएँ मानौं छोइएँ भने बल्छु भन्ने अव्यक्त प्रणय भावसमेत यहाँ झल्कन्छ । के सम्बन्ध छ चित्रकार र सलाईबीच ? चित्र सृजना हो भने सलाई ध्वंसको प्रतीक । यी दुई प्रसंग फरकफरक अनुच्छेदमा राखेको भए हुनेझैं लाग्छ । कवितामा एउटा स्पेसले पनि ठूलो अर्थ राख्छ ।
काव्ययात्रा निरन्तर साधना र परिष्कारको नदीमा डुंगा खियाइरहनु पनि हो । साधना र परिष्कारबाट नै ‘नदीको तिर्खा’ जन्मिएको छ ।

Page 13
कोसेली

क्यान्टरबेरी एक्सप्रेस

- कुमार शर्मा

 

हाई ! क्यान आई बुक अ सेसन दिस इभिनिङ्ग ? फर थर्टी मिनट्स ?
‘स्योर हनी ! ब्येन डु यु वान्ट टु कम ?’
‘८ पीएम ।’
‘१५० डलर्स, क्यास ओके ?’
‘स्योर !’
‘सी यु सुन हनी !’
सरकारलाई बुझाउने कर कटाएर एक सय पचास डलर्स उसको सरदार एक दिनको कमाइ हो । यसका लागि उसले ठीक आठ घण्टा काम गर्नुपर्छ । तर आज साँझको सेसनमा, जहाँ ऊ यस बखत जाने तयारी गर्दै छ, पूरा एक सय पचास डलर्स केवल तीस मिनेटमा स्वाहा हुँदै छ । उसको भर दिनको कमाइले आधा घण्टामै उसलाई बाई बाई गर्नेछ । यो सबै कुरा थाहा भएर पनि ऊ उत्साहित मुद्रामा तयार हुँदै छ ।
सावरबाट निस्किनेबित्तिकै उसले घडी हेर्छ । घडीमा सात बज्दै छ ।
‘अबको एक घण्टामा म उसको अपार्टमेन्टको कल बेल थिचिरहेको हुनेछु,’ दिमागमा यस्तो सोच आउँदा ऊ भित्रभित्रै मुस्कुराउँछ । सात बजेर पन्ध्र मिनेट जाँदा ऊ कोठाबाट निस्किन्छ । ट्रेनको आधा घण्टे एक्सप्रेस यात्रा उसलाई आधा दिनजस्तो लाग्छ ।
सिड्नीको क्यान्टरबेरी स्टेसनबाट बाहिर निस्किँदा आठ बज्न अझै दस मिनेट बाँकी हुन्छ । झोलाबाट चुरोटको खिल्ली निकालेर उसले एउटा लामो सर्को तान्छ । उसलाई आफ्नो हृदयको गति बढ्दै गएको भान हुन्छ । चुरोट समाएका औंला पनि हल्लिएजस्तो
लाग्छ । चुरोटको ठुटोलाई आफ्नो खुट्टाले किचेर निभाउँदै गर्दा उसको फोनमा मेसेजको नोटिफिकेसन आउँछ ।
टिङ्ग ! ‘यु क्यान प्रेस द डोर बेल हनी । आई एम रेडी !’
अघिसम्म उत्साहित अवस्थामा रहेको उसको मन, मेसेज पढिसकेपछि भने चिसो भएर आउँछ । एक हात उसले आफ्नो छातिनेर लैजान्छ । उसको मुटु झन् जोडले मच्चिरहेको छ ।

सिड्नी आएको लगभग चार वर्ष बितिसक्दा पनि सन्तोषको एउटै गर्लफ्रेन्ड हुन सकेन । तीनजना साथीहरूसँग ऊ अपार्टमेन्ट सेयर गरेर बस्थ्यो । साथीहरू सबै करिब एउटै उमेर समूहका । सबैको उमेर २२ देखि २४ को बीच । साथीहरूमध्ये सन्तोष सबैभन्दा पाको थियो । केटाहरू कहिलेकाहीं ठट्टा गर्थे ।
‘ब्रोको जिन्दगी पनि हल्लाएरै बित्ने भो !’
‘खोज्नुपर्‍यो हौ ब्रो, यत्रो सिड्नीमा एउटी त कसो नभेटिएला र !’
‘कि, कसैले पत्याएनन् क्या हो यस्तो
ह्यान्डसम ब्रोलाई ?’
‘बरु ब्रोको इन्ट्रेस्ट एउटी नभएर एउटा पो हो कि त !’
साथीहरूको ठट्टालाई बाहिरबाट हाँसेर टारे पनि भित्रभित्रै भने उसको मन कता–कता कुँडिएर आउँथ्यो । मनमनै ऊ आफैंसँग भलाकुसारी गर्थ्यो,
‘एकबारको जिन्दगी हल्लाएरै बित्ला जस्तो पो छ त ! केटाहरूलाई मात्र कति कराउनु ?’

घडीमा ठीक आठ बजेको छ । यतिका समय उसले इन्तजार अनि फेन्टासाइज गरेको पल ठीक उसको सामुन्ने खडा छ । मात्र उसले डोर बेल थिच्नुपर्ने छ । त्यसपछि ढोका खुल्ने छ, अनि उसले प्रवेश गर्ने छ– एउटा अलग संसारमा, जसको उसले कल्पना मात्र गरेको छ ।
झोलाबाट पानी निकालेर पिइसकेपछि पनि उसको मुख प्याकप्याक गरिरह्यो ।
एकमन त उसलाई लाग्यो पनि, ‘दायाँबायाँ कतै नहेरी सरासर ट्रेन स्टेसन फर्किन्छु । यो बाटो मेरो होइन । अझै पनि केही बिग्रिएको छैन ।’
तत्कालजसो उसलाई साथीहरूको कुरा याद आयो । उनीहरूले गर्ने ठट्टा उसले सम्झियो । केहीबेर अघिसम्मको उत्साह, आफ्नो त्यो अवस्था सम्झियो । फोनमा फेरि मेसेजको घण्टी बज्यो । सोचको तन्द्राबाट ऊ बिउँझियो ।
‘एनी प्रोब्लम हनी ? यु क्यान कम नाउ ।’
एक झट्कामा उसले डोर बेल थिच्यो । ढोका खुल्यो । पाँचौं तल्लामा लिफ्ट रोकिएपछि बाहिर निस्किएर उसले एक नजर यताउता दौडायो । रुम नम्बर ५०२ लिफ्टको केही पर अवस्थित थियो । दायाँ अनि बायाँ कोठै कोठा भएको एउटा लामो गल्लीको अन्तिम रुम । ५०२ मा पुगेर ऊ ढोकासामु उभिन मात्र के पाएको थियो, ढोका भित्रबाट बिस्तारै आफैं खुल्यो ।

सामाजिक सञ्जालबाटै कुरा गरेर, भेटेर राम्रो साथी भएका प्रसंग उसले आफ्ना साथीहरूबाट सुनेको थियो । कति त आफ्नै आँखाले देखेको पनि थियो । फेसबुकबाट भेटेर बैवाहिक जीवनमा बाँधिएका किस्साहरू त न्युज बनेर टाइमलाइनमा बेलाबेला झुल्किने गरेकै थिए ।
तर, यी सबै कुरा भने उसका लागि
‘आकाशको फल, आँखा तरी मर’ सरह थियो । बेलाबेला आफ्नो फोटो हाल्ने र अरूका बेमतलबका पोस्टहरूमा लाइक अनि कमेन्ट गर्नेबाहेक अन्य उपति सामाजिक सञ्जालबाट भएन । सिड्नीको पढाइ अनि कामकाजी जिन्दगीको टाइमटेबलको बीच कोही नयाँ मान्छे भेटिने, ऊसँग दोस्तियारी हुने सम्भावना आफैंमा न्यून थियो ।
त्यसो त कलेज अनि काममा आफ्नै उमेरका युवतीहरू उसले नभेटेको होइन । केहीसँग सामान्य कुराकानी पनि हुन्थ्यो । तर, ती सबै ‘हाई हेलो’ वाला सम्बन्ध मात्र हुन सके । भेट्दा ‘हाई हेलो’ हुने, छुट्टिँदा ‘बाई सी यु’ हुने । न त भेट्दा र छुट्टिँदाको बीच केही हुने, न त छुट्टिएर फेरि भेट्दाको बीच केही हुने ! उसको कुनै पनि सम्बन्ध मित्रतासम्म पुग्नै सकेन । उसको कुनै ‘कलिग’ उसको दोस्त हुन सकेन !

ढोका खुल्दा, ओठमा मुस्कान लिएर उसको सामु उभिइरहेकी थिई एक युवती । उसकी हनी !
अलिकति मुस्कुराएरै उसले पनि अभिवादन फिर्ता गर्‍यो । तर, यतिन्जेल उसको नजर युवतीको अनुहारबाट सरेर वक्षस्थलसम्म पुगिसकेको थियो । भित्र छिरिसकेपछि युवतीले उसको हात समाएर उसलाई एउटा कोठाभित्र लगी । कोठाभित्र छिर्नुअघि उसले एक पटक फेरि चोरेर हेर्‍यो ।
उसका चोर नजर युवतीको छातीतर्फ सोझिएको थियो ।
करिब बीस मिनेट जति पछि उक्त कोठाबाट बाहिर निस्किँदा उसको अनुहारमा एक किसिमको विजयी मुस्कान व्याप्त थियो । अपार्टमेन्टको मेन ढोकासम्म युवतीले उसलाई अघि जसरी नै हात समाएर लिएर आई । अनि उसलाई बिदा गरी, फेरि पनि उही मुस्कानका साथ । लिफ्ट चढेर तल ग्राउन्ड फ्लोरतर्फ जाँदै गर्दा उसले बीस मिनेट अघि यही लिफ्ट चढेर माथि जाँदै गर्दाको पल सम्झियो ।
मनमा उत्पन्न भएको अलि अलि डर, अलि अलि व्यग्रता, तेज हुँदै गइरहेको मुटुको धड्कन, आफ्नो शरीरको व्याकुलता ! त्यो पल फेरि पनि सम्झेर ल्याउँदा उसको मनमा एक किसिमको रोमाञ्च पैदा भयो । त्यो डर, त्यो व्याकुल अनि व्यग्रता उसलाई फेरि महसुस गर्न मन लाग्यो । ऊ त्यहाँबाट अझै राम्रोसँग निस्किसकेको पनि थिएन । तर, उसलाई फेरि फर्किन मन लागिसकेको थियो ।
चुरोट पिउँदै फोनमा मेसेज आउँदाको आवाज सुन्न ऊ व्यग्र भइसकेको थियो । फेरि डोर बेल थिच्न ऊ व्याकुल भइसकेको थियो !

दुई दिनपछि ऊ फेरि क्यान्टरबेरी स्टेसनमा देखापर्‍यो । उही साँझको समय । अनुहारमा बिल्कुल उही व्यग्रता । त्यस साँझ त्यहाँबाट फर्किंदा सन्तोषलाई आफैंदेखि कता कता डर जस्तो लागेर आयो । उसलाई डर थियो– कतै अबदेखि ऊ त्यहाँ नियमित देखा पर्ने त होइन ?
यस प्रश्नको उत्तर केवल ऊ स्वयम् मात्र दिन सक्थ्यो । तर, उसलाई शंका थियो आफैं माथि । प्रश्नको इमानदार उत्तर आउने कुरामा ऊ आफैं विश्वस्त हुन सकिरहेको थिएन ।
दुई दिनमा उसलाई दोस्रो पटक देखेपछि उसले भनेकी थिई– ‘यु ह्याब बिकम अ रेगुलर हनी !’ अनि उसको हात समाएर ठीक पहिले जसरी नै उसलाई भित्र लगेकी थिई । ठीक पहिले जसरी नै, यस पटक पनि उसको नजर युवतीको छातीतर्फ नै सोझिएको थियो ।
सन्तोषलाई थाहा थियो कि यो कुनै सामीप्यता थिएन, यसमा कुनै न्यानोपन थिएन । एक सय पचास डलर खर्च गरेबापत प्राप्त भएको रापमा कुनै ताप थिएन । यो उसलाई थाहा थियो । तर, ऊभित्रको चिसो सायद यति याम चलिसकेको थियो कि अब उसलाई पर्वाह हुन छाडिसकेको थियो । स्वेटर आफ्नै हो वा भाडामा लिएको– उसले यस कुराको चिन्ता गर्न छोड्यो ।
उसलाई बस् न्यानो हुनु थियो ।

सायद अन्तर्मुखी स्वभावको कारण होला, सन्तोष खुलेर अरूसामु प्रस्तुत हुन सक्दैनथ्यो । आफूले चिनिरहेका साथीहरूमाझ पनि एउटा पर्दा सदैव रहिरहन्थ्यो । ऊ मित्रवत् थियो जरुर, तर आफ्ना साथीहरूलाई ऊ सधैं एउटा निश्चित दूरीमा पाउँथ्यो ।
यो दूरी उसले आफैं बनाएको हो वा साथीहरूले खडा गरेका हुन्– उसलाई यो कुरा भने सधैं एउटा रहस्य जस्तो लाग्थ्यो । किनभने आफ्नो नजरमा ऊ अन्तर्मुखी या इन्ट्रोभट त्यस्तो केही थिएन । ऊ एउटा आम युवक थियो, जसका अरूका जस्तै आम इच्छा अनि आकांक्षा थिए ।
आफ्नो नजरमा ऊ एउटा रेगुलर योङ म्यान थियो ।

‘ब्रो हिजोआज अलि ह्याप्पी मुडमा देख्छ त, कतै लभ सभ त परेन ?’
‘ब्रोको पनि दिन आएजस्तो छ है केटा हो !’
क्यान्टरबेरी जान थालेपछि सायद सन्तोषको चाल चलन, रूप रंग अनि चालामाला अलि फेरिएर होला, अस्तिसम्म एउटा कुरा भनेर जिस्क्याउने साथीहरू अब अर्थोक नै भनेर जिस्क्याउन थालिसकेका थिए । साथीहरूको कुरालाई ऊ अहिले पनि हाँसेर नै टार्ने गर्थ्यो । कहिलेकाहीं जवाफ फर्काउने मुड हुँदा ऊ भन्थ्यो, ‘टाइम टाइमकी बात है दोस्तों, कि कसो ?’
उसको यस्तो जवाफ सुनेपछि केटाहरूको हाँसोले पूरै फ्ल्याट थर्किएर आउँथ्यो । वरपरको वातावरण नै गुन्जायमान भएर आउने उक्त क्षणमा अलिकति हाँसो अनि अलिकति रमाइलो सन्तोष आफू पनि मिसाउँथ्यो ।
केटाहरूले शंका गरेजस्तो त्यो प्रेम नै त थिएन । तर, सन्तोषलाई यसको पर्वाह थिएन । सुरुवाती रफ्तारपछि ऊ केही सम्हालिएको थियो । पछिल्लो समयमा उसको क्यान्टरबेरी आवत्जावत् हप्ता दस दिनमा एक पटक जस्तो हुन थालेको थियो ।
पहिलेको जस्तो व्यग्रता अब थिएन । हिजो आज ऊ अलि शान्त थियो । उता जाने दिन भने अलि बेचैन नै रहन्थ्यो । त्यो व्यग्र अनि व्याकुलता फेरि फर्किएर आएझैं लाग्थ्यो ।
अरू बेला शान्त रहने प्रेमी, प्रेमिकासँग भेट्ने दिन अलि अशान्त भएजस्तो ! अरू बेला चुपचाप आफ्नो दैनिकीमा सरिक हुने प्रेमी, प्रेमिकासँग भेट्ने दिन अलि ‘रेस्टलेस’ भएजस्तो !
सन्तोषलाई यसको दुवै पक्ष मन परिरहेको थियो । अरू बेलाको आफ्नो शान्त अवस्था मन परिरहँदा, क्यान्टरबेरी जाने दिनको
आफ्नो ‘रेस्टलेसनेस’ पनि उसलाई
समानान्तर रूपमा मन परिरहेको थियो । क्षणिक नै सही, आफ्नो कोठाबाट क्यान्टरबेरी स्टेसनसम्मको ट्रेनको सफर अनि प्ल्याटफर्मदेखि रुम नं ५०२ सम्म पुग्दा तन अनि मनमा पैदा हुने त्यो बेचैनी, त्यो तिर्खा पनि उसका लागि प्रिय थियो ।
यस किस्सामा प्रेमको सुवास थिएन । अनुराग थिएन । र, पनि उसका लागि यो किस्सा कुनै प्रेमभन्दा कम थिएन । सन्तोषका लागि यो प्रेम नै थियो । डोरबेल थिचेर लिफ्टबाट माथि जाँदै गर्दा जोडले धड्किरहने मुटुको चाल, उसका लागि अनुराग नै थियो ।
त्यो कृतिम मुस्कानमा पनि उसले प्राकृतिक हाँसो देखिरहेको थियो । त्यस छदम नजिकपनमा पनि उसले आत्मीयता महसुस गरिरहेको थियो ।

पाँच महिनापछि सन्तोष कोठा सर्‍यो । क्यान्टरबेरीबाट केही पर, अर्कै ठाउँमा ऊ अब एक्लै बस्न थाल्यो । उसले नयाँ काम पाएको थियो, जुन ऊ अहिले बस्ने नयाँ ठाउँबाट निकै नजिक थियो । त्यसपश्चात् उसको एउटा फरक दैनिकी बस्न थाल्यो । समयक्रम सँगै क्यान्टरबेरी थप दूर हुँदै गयो, उसको दैनिकी अनि आवश्यकताको परिधिबाट त्यो अब क्रमशः पर हुँदै गयो ।
यसबीच उसको सुनितासँग भेट भयो । सन्तोषले काम गर्ने ठाउँ नजिकैको कफी पसलमा ऊ काम गर्थी । बिहान कफी लिने क्रममा भेट भयो । हरेक बिहान काममा जानुअघि ऊ त्यहाँबाट कफी लिने गर्थ्यो । हप्ताको पाँचै दिन सुनिता त्यहाँ काम गर्थी ।
एक दिन सन्तोषले भन्यो, ‘क्यान यु मेक द कफी अ लिटल हट, प्लिज !’
सुनिताको तुरुन्त जवाफ आयो– ‘स्योर !’
कफी दिनुअघि उसले सोधी, ‘वेर आर यु फ्रम ?’
मुस्कुराउँदै, सन्तोषले पनि तुरुन्त जवाफ दियो, ‘नेपाल ।’
‘मलाई त्यस्तै लागेको थियो,’ उसले पनि मुस्कुराउँदै जवाफ फर्काई । तर, यसपालि नेपालीमा । सुनिता नेपाली भएकोमा सन्तोषलाई त्यस्तो अचम्म लागेन । उसको बोली अनि अनुहार देखेको भरमा उसले मनमनै जे अनुमान लगाएको थियो, मात्र त्यो सही निस्केको थियो ।
‘कसरी ?’
‘यस्तो मन तातो कफी त यता खैरेहरू मात्र खान्छ ! हामीलाई त अलि तातै पो चाहिन्छ त, होइन ?’
सुनिताको कुरा सुनेर सन्तोष हाँस्यो । सायद उसको कुरा उसलाई चित्त बुझ्यो । उसको आँखाबाट आफ्नो आँखा नहटाई, कफीको एक स्रुप लिँदै सन्तोषले भन्यो, ‘नाइस टु मिट यु !’
बदलामा सुनिताले पनि उसको आँखैमा हेरेर भनी– ‘सेम हियर !’

सामान्य ’हाई हेलो’ बाट चिनजानको सुरुवात भए तापनि उनीहरू छिट्टै एकअर्कासँग नजिकिए । सोसल मिडियाको जमानामा एक अर्काको सम्पर्कमा रहनु, नियमित कुराकानी हुनु कुनै नौलो कुरा पनि थिएन । शनैः शनैः उनीहरू एकअर्कासँग खुल्दै गए । बिस्तारै कुराकानी बाक्लिँदै गयो ।
एउटा शुक्रबारको दिन दिउँसो ब्रेकको समयमा सन्तोषले टेक्स्ट पठायो ।
‘आज साँझ के गर्दै ?’
‘केही छैन हौ ! एक बोतल वाइन लिएर जानु पर्ला अनि खाएर सुत्दिने हो !’ उसले हाँसिरहेको इमोजीसहित रिप्लाई पठाई ।
‘नट अ ब्याड प्लान ! सन्तोषको रिप्लाई पढेर ऊ केहीबेरसम्म एक्लै हाँसिरही ।
‘तिमी के गर्दै नि ? एनी प्लान्स फर द इभिनिङ्ग ?’ केहीबेर पछि उसले टेक्स्ट पठाई ।
‘आई थिंक आई ह्याब अ बेटर प्लान ! आज साँझ डिनर सँगै गरौं, हुन्न ?’
‘नट अ ब्याड प्लान !’
यस पटक भने सुनिताको रिप्लाई पढेर सन्तोष केहीबेरसम्म मुस्कुराइरह्यो ।

पहिलो डिनर डेटपछि उनीहरू थप नजिकिए । कामकाजी जिन्दगीको सेट रुटिनमा ‘अटो पाइलट’ मोडमा हिँडिरहेका उनीहरू दुवैका लागि यो एउटा आवश्यक तथा नूतन ‘डिटुर’ थियो । कामको बखत पनि घरिघरि फोन चेक गरिरहनु, कतै मेसेज आएको छ कि भनेर मनमा एक किसिमको अपेक्षा भइरहनु, राति अबेरसम्म कुरा गर्दै फोनमा झुन्डिरहनु अनि फेरि बिहान आँखा मिच्दै सिरानीमुनिको फोनलाई प्रेमले सुम्सुम्याउनु– त्यसपछिका दिनमा यो दिनचर्या दुवैको नयाँ आदत बनेर आयो ।
नयाँ रुटिन उनीहरूलाई यस्तो लाग्यो, मानौं उनीहरू दुवै माछा हुन् र यो नयाँ दिनचर्या कुनै पानी हो !
एक दिनको कुरा हो, ‘आउट अफ द ब्लु’ सन्तोष क्यान्टरबेरी स्टेसनमा देखा पर्‍यो । प्लाटफर्ममा झरेर ऊ स्टेसन बाहिर निस्किरहेको थियो । स्टेसनबाट निस्केपछि उसले त्यही बाटो समात्यो, जुन उसले पहिले यहाँ धेरै पटक हिँडेको थियो । केहीबेर हिँडेपछि ऊ त्यही अपार्टमेन्ट नजिक पुग्यो ।
झोलाबाट सिगरेट निकालेर उसले बडो तन्मयका साथ चुरोट तान्यो । उसको अनुहार भने एकदम शान्त थियो । न कुनै छटपटी,
न कुनै व्यग्रता । ठीक त्यही बेला उसको फोन बज्यो । फोनमा मेसेज आएको नोटिफिकेसन थियो ।
‘कता हो ?’ सुनिताको मेसेज थियो ।
‘म यता क्यानटरबेरीतिर ।’
‘आज अचानक किन नि त्यता ?’
‘यत्तिकै । एउटा साथी बस्थ्यो यहाँ पहिले । मेरो खुब आनाजाना रहन्थ्यो ।’
‘अनि भेट्यौ त साथीलाई ?’
‘साथी त मुभ भइसकेछ यताबाट । अन्तै बस्दो रहेछ आजकल ।’
‘ए ए अनि भेट्ने होइन त आज ?’
‘अफ कोर्स ! म आउँदै छु तिम्रोमा । चिया बनाइराख है !’
‘यो पनि कुनै भन्ने कुरा हो ! उम्लिँदै छ !’
हाँसिरहेको इमोजी सहितको मेसेज हेर्दै सन्तोष स्टेसनतिर अघि बढ्यो । ऊ स्टेसनतिर जाँदै गर्दा क्यान्टरबेरीको त्यो अपार्टमेन्ट दृश्यबाट क्रमशः धमिलिँदै गयो ।

कोसेली

गाउाको डढेलो

- फूलमान वल

 

कसले सल्कायो होला
गाउामा डढेलो ?
चराहरुको गीत डढ्ने गरी
कसले लगायो होला
जंगलमा आगो ?
झ्याउाकिरीको संगीत जल्ने गरी

गीत विरूद्ध–
को वैरागी निस्किएछ गाउामा ?
को निस्किएछ गाउामा संगीत विरोधी ?

हुनसक्छ–
वर्षौंदेखि खाडीमा
उमेरका नुनिला पसिना बगाउादै
धमिलो सुटकेसभित्र पट्याएर सफेद माया
गाउा फर्केको कुनै अज्ञात परदेशीले
आफ्नो प्रेमको असामयिक दुर्घटनाको रनाहामा
सुसाइड नोट लेख्नुअघि
सल्काइदिएको पनि हुनसक्छ आगो
यो जंगलमा

यही बाटो हुादै सहरबाट फर्केका
मिटरब्याजपीडित आन्दोलनकारीहरुले
बिाडी सल्काएर फालिदिएका पनि हुनसक्छन् जंगलमा
कुनै शिक्षित बेरोजगारीको निराशाले
त्यसै जलेको पनि हुनसक्छ यो जंगल
या उस्तै हन्डर झेलेर परदेशमा
खाली हात घर फर्केका पूर्व अयोग्य लडाकुको आक्रोशको आगो
यहीँनेर खसेको पनि हुनसक्छ
र, लागेको हुनसक्छ डढेलो
अथवा–
कुनै उग्र–पहिचानवादीले
झोसिदिएको पनि हुनसक्छ जंगलमा आगो

हुनसक्छ–
कुनै सहकारीपीडित यही जंगल हुादै गुज्रिए
–न्यायालयको पेसी खेप्दाखेप्दै कपाल फुलाएका तथाकथित झगडिया
–लोक सेवाको जााच दिादादिादै उमेरहद नघाएका असफल युवा
–सामाजिक सञ्जालको असामाजिक गुरूत्वाकर्षणबाट डिप्रेस्ड तन्नेरी
–तरकारीको उचित भाउ नपाएका किसान
–म्यानपावर कम्पनीको ठगीमा परेका गाउाले युवा
–घूस खाने कला नजानेका सरकारी अफिसर
–युक्रेन युद्धबाट पति फर्काइदिन ज्ञापनपत्र बुझाउन सहर गएकी नवविवाहिता युवती
–सत्य निरुपण पर्खिरहेका द्वन्द्वपीडितहरु
कोही न कोही त पक्कै यही बाटो हुादै गुज्रिएको हुनसक्छ
र त, लागेको हुनुपर्छ जंगलमा आगो

हो, कसले सल्कायो होला
जंगलमा डढेलो ?
चराहरुको गीत डढ्ने गरी
कसले लगायो होला
जंगलमा आगो ?
झ्याउाकिरीको संगीत जल्ने गरी
जसले सल्काए पनि डढेलो
जसले लगाए पनि आगो
निभाउनै नसकिने गरी
बिस्तारै–बिस्तारै अघि बढ्दै छ सहरतिर

अहो,
यो कविको चिन्ता त यति मात्रै हो कि–
जंगलबाट सहरतिर अघि बढ्दै गरेको आगो
कुनै दिन,
संसद् भवन पस्यो भने के–के जलाउाछ होला ?
सिंहदरबार छिर्‍यो भने के–के डढाउाछ होला ?

 

कोसेली

घाइते खुसीहरु

- दीपावली शर्मा

 

फुल्नुभन्दा अगावै
कोपिलामै निमोठिएका
मूल्यवान् खुसीहरु
कसैको निर्दयी हातबाट फ्यााकिएर
कसैको निर्ममताले कुल्चिएर
माटोको स्पर्श पाएपछि
पुनः फुल्न कठोर संघर्ष गरिरहेको पाउाछु ।

कतै छरिएका पत्रदलहरु
कतै ओइलाइएका रंगहरु
निमोठिइँदा दुखेका आलो घाउहरु
समेटिन खोज्छन्
पुनः रंग भर्न खोज्छन्
निको हुन खोज्छन्
सम्हालिन खोज्छन्
जरा, काण्ड र पातबिना
कसैको दयालु हातबिना ।

प्रिय प्रकृति,
तिनीहरुलाई
त्यही नै माटोमा

त्यसरी नै
संघर्ष गर्न देऊ
सम्भावनाका रंग भर्न देऊ
निको हुन देऊ
पुनः फुल्न देऊ
रम्न, रमाउन देऊ
हाास्न, हासाउन देऊ
अनि तिमी पनि
रम्न सक्छौ, हाास्न सक्छौ ।

 

Page 14
कोसेली

'संस्कृति कहिल्यै बोझ हुँदैन’

- प्रदीप घिमिरे


सन् १९७१, भारत–पाकिस्तान युद्ध चरमोत्कर्षमा थियो । त्यही वर्ष स्थलमार्ग हुँदै आफ्नै सवारीसाधनमा भारत भ्रमणमा निस्किएका जर्मनीका आक्सेल मिखायेल्स बनारसका पण्डित अम्बिकादत्त उपाध्यायसँग संस्कृत–भाषा र भारतीय संस्कृति अध्ययन गरिरहेका थिए । युद्ध झन् चर्किंदै गएपछि उनी आफूले चढेर आएको सवारी बेचेर पुनः जर्मनी फर्किने सोचमा पुगे । भारतमा सवारी बेच्न सम्भव नभएपछि उनी रक्सौल हुँदै काठमाडौं आए । सवारी मात्रै बेचेनन्, नेपालमाथिको गहिरो प्रेम लिएर जर्मनी फर्किए ।
जर्मनी पुगेर सन् १९७८ मा ह्याम्बर्ग् विश्वविद्यालयबाट ‘शूल्वसूत्र’ मा विद्यावारिधि गरेपछि उनका शोध परीक्षकले उनलाई ‘नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजना अन्तर्गत रहेर नेपाल जाने हो ?’ भन्ने प्रस्ताव राखे । उनले तत्कालै स्वीकारोक्तिको भावमा टाउको हल्लाए । ‘त्यो दिनको त्यो निर्णयप्रति म कदापि पछुताइनँ,’ प्रोफेसरको त्यो सुनौलो प्रस्ताव सम्झँदै उनी भन्छन् ।
नेपाल आएपछि आफू नेपाली भाषा जान्न एक शिक्षककोमा जाने गरेको सम्झँदै उनले सुनाए, ‘त्यसताका म लक्ष्मीनाथ श्रेष्ठसँग नेपाली पनि सिकिरहेको थिएँ । उनलाई म सम्झिरहन्छु । नेपाली गजबसँग पढाउँथे । उनको रोचक पक्ष के थियो भने पढ्न सुरु गरेको दिनदेखि नेपालीबाहेक अर्को भाषा बोल्न नपाइने । जति जानिन्छ नेपालीमै भन्नुपर्ने । केही सातापछि नै सामान्य नेपाली बोल्न थालिसकेको थिएँ । पढ्न थालेको ३ सातापछि नै एउटा कार्यक्रममा सुरुदेखि अन्तिमसम्मै नेपाली भाषामा आफ्नो भनाइ राखेको थिएँ । त्यो मेरा लागि गौरवपूर्ण क्षण थियो ।’
उपर्युक्त परियोजनाका लागि नेपाल आएपछि मिखायेल्सको जिन्दगीले छुट्टै मोड लियो । हस्तलिखित ग्रन्थहरूसम्बन्धी अध्ययन गर्दै जाँदा उनले सोचिसकेका थिए– अब नेपालमै रहेर केही गर्नुपर्छ । नेपालमा भएका ऐतिहासिक पुरातात्त्विक एवं धार्मिक हस्तलिखित ग्रन्थबारे अध्ययन र संरक्षण नगरे कुनै दिन ती हराएर जानेछन् ।
खोजिपस्दा नेपालका पुराना हस्तलिखित ग्रन्थबारे थप जान्ने उत्सुकता र लगावले उनलाई नेपाल रिसर्च सेन्टर र नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाको निर्देशक बनायो । उनले आफ्नो नेतृत्वमा नेपालका विभिन्न स्थान पुगेर हजारौं हस्तलिखित ग्रन्थका छविचित्र (माइक्रोफिल्म) बनाए र त्यसलाई विद्युतीकरण (डिजिटाइजेसन) समेत गरे । जर्मनीकै युनिभर्सिटी अफ् किल्मा सहायक प्राध्यापक छँदा उनले नेपाल अनुसन्धान केन्द्रको निर्देशकको भूमिकामा काम गरे । त्यहाँ काम गर्दा नेपालको अनौठो सामाजिक–सांस्कृतिक–धार्मिक एवं ऐतिहासिक विषयलाई संसारले जान्नुपर्छ भन्ने आफूलाई लागेको उनी सम्झन्छन् ।
सन् १९८३ देखि १९८४ सम्म मिखायेल्स जर्मन रिसर्च फाउन्डेसनसँगको सहकार्यमा नेपालमा दीक्षा परम्पराबारे अध्ययन गर्ने एक परियोजनामा सामेल भए । त्यसले उनलाई नेपालका विभिन्न प्रकृतिका दीक्षा संस्कारबारे जान्ने अवसर मिल्यो । उनका त्यसपछिका दिनहरू सधैंजसो हस्तलिखित पुराना ग्रन्थहरूको माइक्रोफिल्म्को व्यवस्थापन र नेपाल रिसर्च सेन्टरका लागि विभिन्न लेक्चरहरूको व्यवस्थापनमै बिते । ‘केही थोरै लेखकहरूले लेखेका भए पनि नेपालमा यस्ता विषयवस्तुहरू छन्, जसबारे न पूर्णरूपमा लेखिएको छ न तत्–तत् समुदायबाहेक कसैलाई यस्ता संस्कृति, रीतिरिवाज, रहनसहनबारे थाहा छ,’ यस्ता विषयमाथि सामूहिक रूपमै विशेषज्ञबाट गहिरो अध्ययन भयो भने आउने पिढीले पनि सांस्कृतिक–पुरातात्त्विक विषयको जानकारी पाउनबाट वञ्चित हुनुनपर्ने विचार छ उनको ।
नेपाल अनुसन्धान केन्द्रमा काम गर्दा मिखायेल्स् र संस्कृतिविद् गोविन्द टण्डनले पशुपति क्षेत्रबारेको अध्ययनपछि एक अनुसन्धानात्मक पुस्तक ‘पशुपतिक्षेत्र’ प्रकाशित गरे, जसमा पशुपतिनाथ वरिपरिको परिवेश र संस्कार–संस्कृति समेटिएको छ । त्यसपछि सन् १९९२ देखि १९९६ सम्म युनिभर्सिटी अफ बेर्नमा रेलिजियस स्टडिज् (धार्मिक अध्ययन) विषयमा प्राध्यापन गरे । सन् १९९६ देखि उनी सन् १३८६ मा स्थापना भएको जर्मनीको सबैभन्दा पुरानो विश्वविद्यालय हाइडेल्बर्ग् विश्वविद्यालयअन्तर्गतको दक्षिण एसियाली अध्ययन संस्थान (साउथ एसिया इन्स्टिच्युट) मा पूरा विद्या (क्लासिकल इन्डोलोजी) विषयमा प्राध्यापकका रूपमा प्रवेश गरे । सन् १९९९ देखि २००२ सम्म उक्त संस्थानको निर्देशकका रूपमा कार्यभार सम्हाले । त्यसबेला हाइडेल्बर्ग् विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन संस्थान नेपालमय हुने गर्थ्यो । यसको कारण थियो– मिखायेल्सको नेपाल अध्ययन र अनुसन्धानप्रतिको गहिरो लगाव । ‘उहाँ यस संस्थानको निर्देशक र क्लासिकल इन्डोलोजी विषयको विभागाध्यक्ष हुँदा यो संस्थानमा निरन्तर रूपमा नेपालसम्बन्धी कुनै न कुनै कार्यक्रम भइरहन्थ्यो,’ हाइडेल्बगर्् विश्वविद्यालयबाट नेपालको १९१० को मुलुकी ऐनबारे विद्यावारिधि
(डिफिल–डक्टर अफ् फिलोसोफी) गरेका राजन खतिवडाले भने ।
मिखायेल्सले नेपालसम्बन्धी दर्जनौं पुस्तक एवं अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन् भने दर्जनौं अनुसन्धानात्मक पुस्तक सम्पादन । पुरातात्त्विक र ऐतिहासिक विषय उजागर गर्न तत्कालीन समयमा प्रयोग गरिने भाषा अध्ययन हुनु महत्त्वपूर्ण भएको भन्दै उनी त्यस्ता भाषामा नेपाली, संस्कृत, नेपाल
(नेवारी) मुख्य हो भन्छन् । ‘संस्कृत र नेपाल भाषाको अध्ययन यसकारण पनि अपरिहार्य छ कि भाषा विज्ञान, हिन्दु धर्म मात्र नभई बौद्धधर्मबारे जान्न पनि यी माध्यम–भाषा बनेका छन् किनभने यसका मूल ग्रन्थहरू मुख्यतः यिनै दुई भाषामा लेखिएका छन्,’ उनी भन्छन् । भाषा तथा संस्कृतिविद् मिखायेल्स् नेपालमा त्यस्ता धेरै विषयवस्तु र महत्त्वपूर्ण अभिलेख रहेकोमा तिनको संरक्षणको प्रयास भए पनि पूर्ण रूपमा सदुपयोग र संरक्षण गर्न नेपालले नसकिरहेकोमा चिन्ता व्यक्त गर्छन् ।
अहिले उनको नेतृत्वमा दुई ठूला परियोजना ‘पूर्वआधुनिक नेपालको ऐतिहासिक दस्तावेज’ र ‘नेपाल पुरातात्त्विक सम्पदा अभिलेखीकरण परियोजना’ (एन्एच्डीपी) सञ्चालन भइरहेका छन् । पूर्वआधुनिक नेपालको ऐतिहासिक दस्तावेजले नेपालमा भएका, तर खासै चासो नदेखाइएका त्यस्ता ऐतिहासिक दस्तावेज ग्रन्थहरूलाई मेटाडेटाबाट सबैका लागि पहुँचयोग्य बनाउने काम गर्छ । यो परियोजनामार्फत नेपालिज्–जर्मन म्यानुस्कृप्ट क्याटालगिङ् प्रोजेक्टले बनाएका ऐतिहासिक दस्तावेजहरूको छविचित्रलाई मेटाडेटाका रूपमा डिजिटल प्लाटफर्ममा प्रकाशन गरिन्छ । डकुमेन्टा नेपालिका नामको सिरिजमा पुस्तकहरूको सिरिज नै निकालेको छ । त्यस सिरिजमा नेपालसम्बन्धी अध्ययन गरिएका अनुसन्धानात्मक पुस्तकलाई डुकुमेन्टा नेपालिका सिरिजअन्तर्गत हाइडेल्बर्ग् विश्वविद्यालयले नै प्रकाशित गर्छ । अहिलेसम्म यस सिरिजअन्तर्गत ‘स्टडिज् इन् हिस्टोरिकल डकुमेन्ट्स फ्रम् नेपाल एन्ड इन्डिया’, ‘द मुलुकी ऐन अफ १८५४’, ‘स्लेभरी एन्ड अन्फ्री लेबर इन नेपाल’, ‘ड्रम्मिङ् इन भक्तपुर’, ‘होमिसाइड ल इन नाइन्टिन्थ सेन्चुरी नेपाल’ लगायतका अनुसन्धानात्मक पुस्तक प्रकाशित भइसकेका छन् ।
नेपाल पुरातात्त्विक हस्तलिखित ग्रन्थ परियोजना (एन्एच्डीपी) ले नेपालमा रहेका धार्मिक एवं सांस्कृतिक सम्पदाहरूको खोजी गरी ती सम्पदाबारे सम्पूर्ण जानकारी ‘नेपाल हेरिटेज डकुमेन्टेसन प्रोजेक्ट’ को वेबसाइट र ‘हेरिटेज वाक’ नामक एप्लिकेसनबाट दिने गर्दछ । यी सबै परियोजना नेपाल सरकारको प्रत्यक्ष सहकार्यमा सञ्चालन गरिएका हुन् । पूर्वआधुनिक नेपालको ऐतिहासिक दस्तावेज परियोजनाले नेपाल सरकारको नेपाल राष्ट्रिय अभिलेखालयसँग समन्वय गरेर ऐतिहासिक दस्तावेजहरूमाथि अनुसन्धान तथा प्रकाशन गरिरहेको छ । नेपाल पुरातात्त्विक हस्तलिखित ग्रन्थ परियोजना (एन्एच्डीपी) ले नेपाल सरकारको पुरातत्त्व विभाग काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टको समन्वयमा सम्पदा संरक्षणमा काम गरिरहेको छ । मिखायेल्स् भन्छन्, ‘यस्ता किसिमका वैज्ञानिक अनुसन्धानले नेपाल विश्वइतिहासको अध्ययन अनुसन्धानको मानचित्रमा प्रत्यक्ष रूपमा जोडियोस् भन्ने हाम्रो ध्येय हो । सामान्यतया पाश्चात्य विश्वविद्यालयहरूमा इन्डोलोजी भन्नासाथ भारतसँग मात्रै जोडेर हेर्ने गरिएको छ । तर, मेरो उद्देश्य भनेकै इन्डोलोजीको अध्ययन तथा अनुसन्धानमा नेपालको एउटा छुट्टै विशिष्ट स्थान छ, नेपाललाई प्रत्यक्ष रूपमा कसैले पनि औपनिवेशीकरण गर्न सकेन त्यसैले दक्षिण एसिया एवं वरिपरिका अन्य औपनिवेशीकृत देशहरूभन्दा नेपाल सामाजिक, धार्मिक, आर्थिक एवं राजनीतिक अभ्यासका दृष्टिले मौलिक पहिचानका साथ अगाडि बढिरह्यो । जस्तो कि– कुनै पनि औपनिवेशिक शक्तिको संलग्नताबिना नै सन् १८५४ मै मुलुकी ऐनजस्तो संविधानकै झलक दिने किसिमको एवं १८–१९औं शताब्दीको नेपाललाई ऐनाजसरी नै स्पष्ट देखाइदिने बृहत्तर कानुनी दस्तावेज आउनु र कानुनका रूपमा प्रयोग हुनु आफैंमा दक्षिण एसियाको कानुनी इतिहासकै विशिष्ट उदाहरण हो । यति हुँदाहुँदै पनि मुलुकी ऐनलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ । त्यो समयको विशिष्ट कानुनी दस्तावेज हुँदाहुँदै पनि मुलुकी ऐनले जातीय संरचनालाई कानुनी दस्तावेजमार्फत नै कार्यान्वयन गर्नुले भने नेपालमा जात व्यवस्थाले अझ दह्रोसँग जरा गाड्यो, जसलाई सरकार तथा समाजका विभिन्न प्रयासका अहिलेसम्म पनि निर्मूल गर्न सकिएको देखिँदैन । तर, अनुसन्धानका हिसाबले भने १९ औं शताब्दीको कानुनी दस्तावेजलाई ऐतिहासिक दस्तावेज मानेर विवेचना भने गर्न सकिन्छ । दक्षिण एसियाको कानुनी इतिहासमा मुलुकी ऐन ब्रिटिस इन्डियाको पेनाल्कोटभन्दा पनि ६ वर्षअघि नै आउनुले तात्कालिक नेपालका शासकहरूको कानुनी चेत भने दर्शाउँछ ।’
नेपालसम्बन्धी यस्ता दर्जनौं परियोजना सञ्चालन गर्नुका साथै उनले दर्जनौं पुस्तक प्रकाशित गरेका छन्– ‘नेपालिकभूपवंशावली,’ ‘नेपालः अ हिस्ट्री फ्रम अर्लिएस्ट टाइम् टु द प्रिजेन्ट’, ‘द मेकिङ् अफ अ स्टाचूः लस्ट्–वाक्स् कास्टिङ् इन नेपाल’, ‘हिन्दुइजम् ःपास्ट् एन्ड प्रिजेन्ट्’,
‘ह्यान्डलिङ् डेथे’, ‘होमो रिचुआलिस्’, ‘गेटिङ म्यारिड’, ‘शिव इन ट्रबल’, ‘ग्रोइङ् अपः हिन्दू एन्डड बुद्धिस्ट इनिसिएसन् रिचुअल्स् अमङ् नेवार चिल्ड्रेन इन भक्तपुर’, ‘द प्राइस अफ
प्युरिटी’ । सन् १९७१ देखियता नेपाल कति पटक पुगें भन्नेबारे उनलाई हेक्का छैन, न हेक्का छ नेपालसम्बन्धी लेखेका एकेडेमिक लेख कति लेखें भन्ने । उनले नेपालका सांस्कृतिक सम्पदा संरक्षण, ऐतिहासिक हस्तलिखित ग्रन्थ संरक्षण र डिजिटाइजेसनलगायत विषयमा गरेको अनुसन्धानलगायत अन्य शैक्षिक गुणवत्ता तथा योगदानको कदरस्वरूप हाइडेल्बर्ग् विश्वविद्यालयले अहिले उनलाई सिनियर प्रोफेसरको उपाधि दिएको छ । जर्मनीकै प्रतिष्ठित लाउटेनस्लेगर अनुसन्धान पुरस्कारजस्ता दर्जनौं सम्मान पाइसकेका छन् ।
त्यसबेला अध्ययन–अनुसन्धानको क्षेत्र नेपाल नै रोज्नुको पछाडि यहाँको आतिथ्य सत्कार र भारतको तुलनामा धेरै कम रूपमा व्यक्तिको जात र पृष्ठभूमि हेर्ने परिपाटी भएको बताउँदै उनले भने, ‘त्यसबेला भारतमा नेपालको तुलनामा धेरै नै जातजाति र व्यक्तिको पृष्ठभूमि हेर्ने गरिन्थ्यो । अझ बाहिरी देशबाट आउनेहरूलाई त ‘म्लेच्छ’ मान्ने गरिन्थ्यो । अशुद्ध मान्ने गरिन्थ्यो । तर, नेपालमा त्योभन्दा तुलनात्मक रूपमा कम थियो । मेरो अध्ययन तथा अनुसन्धानको विषय विशेषगरी चाडपर्व, परम्परा र संस्कारबारे भएकाले नेवारहरूसँग बढी सम्बन्ध विकास हुन्थ्यो त्यसैले पनि त्यति धेरै ‘तँ म्लेच्छ’ होस् भन्ने आरोप खेप्नुपरेन ।’
मिखायेल्स्लाई नेपालको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेकै यहाँको धार्मिक एवं सामाजिक विविधता हो भन्ने लाग्छ । ‘नेपालको विविधताभित्रको एकता लोभलाग्दो छ । विविध धर्म, सम्प्रदाय, फरक–फरक जीवनशैली नेपालका लागि महत्त्वपूर्ण विषय हो । नेपालको इतिहास झनै चाखलाग्दो छ । मौलिक संस्कृति र परम्पराले यहाँको सौन्दर्य बढाएको छ । अझ अर्को अनौठो र महत्त्वपूर्ण सौन्दर्य भनेको हिन्दु र बौद्ध धर्मावलम्बीहरूको एकात्मता हो । यस्तो अनौठो फ्युजन विश्वमा विरलै देख्न पाइन्छ । यस्ता थुप्रै विषय छन्, जसमाथि राम्रोसँग अध्ययन–अनुसन्धान हुन पाएकै छैन । यी सबै विषय, अझ भनौं नेपाल जान्न एउटा मात्र जीवन पर्याप्त हुँदैन,’ उनी भन्छन् ।
नेपालमा दिन प्रतिदिन पाश्चात्य संस्कृति सिको गर्दै जाँदा मौलिक संस्कार, संस्कृति हराउँदै गएको भन्ने कुरा बेलाबखत आइरहे पनि सम्पूर्ण रूपमा यो सत्य नभएको उनी बताउँछन् । ‘अहिले त्यो बेलाको भन्दा परिस्थिति केही फरक त पक्कै छ । तर, परम्परा, संस्कृतिहरू त्यति धेरै लोप हुँदै गएका छन् जस्तो मलाई लाग्दैन । अहिले संख्यात्मक रूपमा धेरै पर्यटकले त्यस्ता चाडपर्व, जात्रा अवलोकन गर्छन्, आधुनिकता पनि आयो । मुख्य कुरा ती चाडहरू अहिलेसम्म मनाइँदै आइएको छ । यस्ता पर्वहरू कुनै थिएटरमा देखिइएका फिल्म होइनन्, यी त त्यहाँका आदिवासीहरूको जरोसँग जोडिएको विषय हो,’ उनले भने, ‘त्यसैले पहिलाको तुलनामा परिवर्तन हुने कतिपय कुरा छाडेर हेर्दा त्यो बेला मनाउने गरिएका चाडपर्व, रीतिरिवाजहरू अझै जीवित छन् लाग्छ । पर्व नै नासिएको छ भन्ने लाग्दैन । हुनसक्छ एक अथवा दुईवटा सामान्य जात्राचाहिँ सायद अहिले मनाइँदैनन्– जस्तै गंगामाई जात्रा । तर, कतिपय जात्रा त पहिलेभन्दा अझै ऊर्जाका साथ मनाइएका छन् । यी विषय पहिचानसँग पनि जोडिएका छन् । त्यसैले पनि संरक्षण गर्नुपर्छ ।’
पाश्चात्य संस्कृतिको प्रभावले कतिपय परम्परा, संस्कृतिहरू परिमार्जन हुँदै त कतिपय परम्पराहरू मासिँदै पनि गइरहेका छन्, यस्ता संस्कृति–परम्पराहरू समयसँगै परिवर्तन हुनु अथवा हराउँदै जानु अथवा भनौं समयसँगै विकास हुँदै जानु राम्रो हो ? उनी भन्छन्, ‘नेपालीले सांस्कृतिक सम्पदा, परम्परा, चाडपर्व, गुठी–भोजजस्ता विषय जीवित राख्नुपर्छ । संस्कृतिलाई बोझको रूपमा कहिल्यै लिनु हुँदैन ।’

कोसेली

मुसा लखेटिरहेको न्युयोर्क सहर

- किशोर पन्थी

 

जलवायु परिवर्तनको विमर्शमा आउने विषय हुन्– हिमालमा हिउँ पग्लिनु, समुद्री सतह बढ्नु, तातो हावा, खडेरी, बाढी, जंगलमा लाग्ने आगो वा चक्रवातहरू । तर, जलवायु परिवर्तनले मानिसको दैनिक जीवनका ससाना विषयमा पनि उत्तिकै असर गरिरहेको हुन्छ ।
न्युयोर्क सिटी अहिले मुसाको समस्या समाधानका लागि निरन्तर जुधिरहेको छ । झट्ट सुन्दा विषय सामान्य लागे पनि मुसाको समस्या न्युयोर्क सिटीका लागि एउटा भयानक समस्याका रूपमा रहेको छ भने स्थानीय सरकारले यो विषयलाई उच्च प्राथमिकता समेत दिँदै आएको छ । न्युयोर्क सिटीमा आउने पर्यटकहरूले स्थानीय ट्रेन स्टेसनहरू, रेस्टुरेन्टहरू, सडक किनाराहरूमा देखिने मुसाको दौडको भिडियो खिचिरहेका दृश्यहरू यत्रतत्र देखिन्छन् भने स्थानीयले घर र अपार्टमेन्टहरूमा भोग्ने मुसाको समस्या उत्तिकै चर्को छ । मुसा अब न्युयोर्क सिटीको पहिचानसँगै कुख्यात रूपमा जोडिएको छ ।
एमएन्डएम पेस्ट कन्ट्रोलको शोध अनुसार, न्युयोर्क सिटीमा मुसाको संख्या अनुमानित ३ मिलियन छ, जुन न्युयोर्क सिटीको कुल जनसंख्याको झन्डै एकतिहाइ हिस्सा हो । सन् २०१० यताको अवधिमा मुसाको संख्या न्युयोर्क सिटीमा ५० प्रतिशतले वृद्धि भएको छ । न्युयोर्क सिटी विश्वमै खैरो मुसाको सबैभन्दा धेरै संख्या भएको सहर हो । औसत मुसाको तौल भालेको ३५० ग्राम र पोथीको २५० ग्राम छ (एमएन्डएम पेस्ट कन्ट्रोल रिपोर्ट, २०२३) । न्युयोर्क सिटीमा झन्डै साढे ५ लाख घरमा मुसाहरू भएको रिपोर्ट गरिएको थियो । सिटीभर ९ लाख ७२ हजारले घरभित्र भएका मुसाबारे स्थानीय सरकारलाई रिपोर्ट गरेका थिए भने ३ लाख ४१ हजार बालबालिका मुसा भएका घरमा बस्ने गर्छन् (न्युयोर्क सिटी वातावरण र स्वास्थ्य विभागको तथ्यांक) ।
मुसाको संख्या यसरी वृद्धि हुनुमा जलवायु परिवर्तनलाई मुख्य कारकको रूपमा हेरिएको छ । मुसाको प्रजनन सामान्यतया जाडोको समयमा उल्लेखनीय रूपमा ढिलो हुन्छ । तापक्रम बढ्दै जाँदा केही मुसा मर्ने भए पनि धेरै मुसा जन्मिएर तिनको संख्यामा उल्लेख्य वृद्धि हुन्छ । ती मुसा विगतको भन्दा ठूला र आक्रामक समेत हुने गर्छन् । जलवायु परिवर्तनका कारण मुसाको जीवन–विज्ञानमा आउने परिवर्तनले मानव जीवनलाई असर गरिरहेको हुन्छ । अन्य धेरै जनावरको तुलनामा मुसाले आफूलाई परिवर्तित मौसम अनुकूल बनाउन सक्छन् । अत्यन्तै तातो भएको खण्डमा अर्को क्षेत्रमा बसाइँसमेत सर्छन् ।
न्युयोर्क सिटी मुसा प्रजननका लागि उपयुक्त मौसम भएको स्थान मानिन्छ । यस क्षेत्रमा पाइने खैरो मुसा वर्षमा ६ पटक ब्याउन सक्छ भने हरेक बेतमा १२ वटासम्म बच्चा जन्माउँछ । अमेरिकामा वसन्त ऋतुअघि नै प्रजनन सुरु हुन थालेको छ भने समरको औसत तापक्रममा पनि वृद्धि भइरहेको छ । न्युयोर्क राज्यको वातावरण संरक्षण विभागको रिपोर्टअनुसार, न्युयोर्क सिटीमा समरको तापक्रम १९७० यता ३ डिग्री फरेनहाइट बढेको छ । तापक्रम वृद्धिसँगै फोहोर व्यवस्थापन लगायतका विषयले पनि मुसाको संख्या वृद्धिमा भूमिका खेलेको छ । तापक्रम वृद्धिसँगै फोहोर छिटो कुहिने हुँदा मुसाका लागि थप अनुकूल वातावरण बनेको छ ।
न्युयोर्क सिटीले मुसाको वृद्धिसँगै जनस्वास्थ्य चिन्ताको सामना गरिरहेको छ किनकि बढ्दो मुसाको जनसंख्यासँगै लेप्टोस्पाइरोसिसका संक्रमणहरू बढिरहेका छन् । विज्ञहरूले मुसाको संख्याको वृद्धिलाई मात्र नभई लेप्टोस्पाइरोसिसको संक्रमण बढ्नुमा पनि जलवायु परिवर्तनलाई दोष दिएका छन् । लेप्टोस्पाइरोसिस जनावरको पिसाबको सम्पर्कबाट सर्ने ब्याक्टेरिया संक्रमण हो । यो संक्रमण न्युयोर्क सिटीमा सन् २०२३ मा सबैभन्दा उच्च बिन्दुमा पुगेको छ भने २०२४ को ४ महिनाको रिपोर्ट हेर्दा यो वर्ष अझ वृद्धि हुने देखिएको छ । सन् २००१ देखि २०२० को तुलनामा सन् २०२१ र २०२२ मा लेप्टोस्पाइरोसिस संक्रमण ५ गुणा वृद्धि भएको छ भने २०२३ मा ८ गुणा वृद्धि भएको छ । यो संक्रमणबाट अहिलेसम्म ६ जनाको मृत्युसमेत भइसकेको छ (न्युयोर्क सिटीको स्वास्थ्य विभागको एड्भाइजरी, अप्रिल १२, २०२४) ।
लेप्टोस्पाइरा ब्याक्टेरिया कमजोर हुने तथा सुक्खा गर्मी वा चिसो तापक्रममा केही मिनेटमै मर्न सक्छ । तर, जलवायु परिवर्तनसँग सम्बन्धित अत्यधिक वर्षा र बेमौसमी तातो तापक्रमजस्ता कारकले न्युयोर्क सिटीमा लेप्टोस्पाइरा लामो समय जीवित हुने गरेको न्युयोर्क सिटी स्वास्थ्य विभागको रोग नियन्त्रण महाशाखाकी डेपुटी कमिस्नर डा. सेलिन क्विनले जारी गरेको एड्भाइजरीमा उल्लेख छ । संक्रमणका आधा मामिला जुन र अक्टोबर महिनाहरूमा रिपोर्ट गरिएबाट यसको थप पुष्टि हुन्छ किनभने जुन र अक्टोबर महिनामा विगत वर्षका तुलनामा बढी गर्मी हुने, अत्यधिक वर्षा हुने र गर्मी हुने दिनको संख्यामा पनि वृद्धि हुने गरेको देखिएको छ ।
जलवायु परिवर्तनमा विशेषज्ञता भएकी अमेरिकी कूटनीतिज्ञ महवास सिद्दिकीले पनि चरम मौसमी घटनाहरू र लेप्टोस्पाइरोसिसको फैलावटबीच सम्बन्ध रहेको बताउँछिन् । उनी निजी धारणा (विदेश मन्त्रालयका तर्फबाट होइन) राख्दै भन्छिन् ‘लेप्टोस्पाइरोसिस, जनावरको पिसाबमा पाइने ब्याक्टेरियाको कारणले गर्दा उष्णकटिवंधीय मौसममा फस्टाउँछ । जलवायु परिवर्तनसँग सम्बन्धित भारी वर्षा र बाढीले मुसाहरूको ठूलो बसोबास रहेको न्युयोर्क सिटीजस्ता क्षेत्रमा यसको फैलावटलाई बढावा दिन सक्छ र जोखिम बढाउँछ ।’
विश्वव्यापी सुरक्षा, आर्थिक वृद्धि र जलवायु कार्यमा अमेरिकाको चासोलाई अगाडि बढाउने अमेरिकी विदेश मन्त्रालयको चौवार्षिक कूटनीति र विकास समीक्षामा जलवायु परिवर्तन अध्याय लेखेकी सिद्दिकीले उक्त दस्तावेजमा जलवायु कूटनीति पनि अगाडि बढाउन राष्ट्रियभन्दा तलको संलग्नताको वकालत गरेकी थिइन् । महवास सिद्दिकी यस्तै चुनौतीहरूको सामना गरिरहेका अन्य सहरहरूसँगको सहकार्य न्युयोर्क सिटीका लागि बहुमूल्य हुन सक्ने सुझाव दिन्छन् । भन्छिन्, ‘उदाहरणका लागि अमेरिका र यस्तै चुनौतीहरूको सामना गरिरहेका नेपालका सहरका नेताहरूले मुसाको नियन्त्रण र जनचेतना अभियान लगायत जलवायु र जनस्वास्थ्य मुद्दाहरूमा रणनीतिहरू आदानप्रदान गर्न सक्छन् । न्युयोर्क सिटीले लेप्टोस्पाइरोसिस र अन्य जलवायु–सम्बन्धित जोखिमहरू सम्बोधन गर्न विश्वभरका सहरका नेताहरूसँग विश्वव्यापी साझेदारीको लाभ उठाउनुपर्छ ।’
न्युयोर्क सिटीका मेयर एरिक आडम्सले गत वर्ष इतिहासमै पहिलो पटक मुसा नियन्त्रण निर्देशक नियुक्त गरेपछि त्यो कदमले व्यापक चर्चा पाएको थियो । त्यसयता मुसा नियन्त्रणका लागि न्युयोर्कमा विभिन्न पहल तीव्र पारिएको छ । कार्बन मोनोक्साइड पम्प गरी मुसालाई प्वालभित्रै समाप्त पार्ने विधि प्रभावकारी मानिएको छ । किनभने विष र पासोको प्रयोग गर्दा घरपालुवा जनावर र अन्य वन्यजन्तुका लागि असुरक्षित अवस्था सृजना हुन्छ । यो विधिअनुसार, न्युयोर्क सिटीका यार्डहरू, पार्कहरू, प्वालहरू, रूखका खाडलहरूमा कार्बन मोनोक्साइड पम्प गरिन्छ । मुसाहरू मर्नु अगाडि निद्रामा जाने भएकाले यो विधि बढी मानवीयसमेत रहेको छ ।
न्युयोर्क सिटी मेयर कार्यालयले सञ्चालन गरेको फोहोर व्यवस्थापनसम्बन्धी नयाँ अभियान पनि मुसा नियन्त्रणमा प्रभावकारी रहेको न्युयोर्क सिटीको सरसफाइ विभागको दाबी छ, जसअनुसार, न्युयोर्क सिटीमा मुसा देखिएको बारे स्थानीय ३११ मा आउने रिपोर्टको संख्यामा गिरावट आएको छ । विगत एक वर्षको तथ्यांक हेर्दा मुसा देखिएका रिपोर्टहरू १४ प्रतिशत कम आएका छन् । न्युयोर्क सिटीमा दैनिक ४४ मिलियन पाउन्ड फोहोर व्यवस्थापनमा खर्च गरिएको छ । यसले मुसा नियन्त्रण प्रभावकारी भएको स्थानीय सरकारको दाबी छ ।
एक वर्षअघि स्थानीय सरकारले अपराह्न ४ बजेदेखि न्युयोर्क सिटीमा बाहिर फोहोर राख्न पाउने पुरानो समयतालिकामा व्यापक परिवर्तन गरेको थियो । साँझ ६ बजेपछि मात्रै सुरक्षित कन्टेनरमा फोहोर बाहिर राख्न पाइने तथा सिधै फोहोरका झोला ८ बजेपछि मात्रै बाहिर राख्न पाइने नियम ल्याउँदा फोहोर रहने समयमा कटौती भएको थियो । त्यस्तै बिहान ६ बजेको साटो राति १२ बजे नै फोहोर उठाउन थालेपछि १४ घण्टाभन्दा लामो समय फोहोर बाहिर रहने अवस्थाको अन्त्य भएको थियो । व्यवसायले फ्याँक्ने फोहोरका सन्दर्भमा पनि नयाँ समयतालिका लागू गरिएको थियो । मार्च १ देखि व्यवसायहरूले दैनिक उत्पादन गर्ने २० मिलियन पाउन्ड फोहोर बाटोमा नभई बिर्को भएको कन्टेनरमा मात्र फ्याँक्न पाउने नियम पनि मुसा नियन्त्रण अभियानकै क्रममा ल्याइएको थियो ।
विज्ञहरू भने जलवायु परिवर्तन नै मुख्य मुद्दा भएकाले यसलाई नै सम्बोधन गर्नुपर्नेमा जोड दिन्छन् । सहरी वातावरणीय न्याय सुधारका लागि सिटी युनिभर्सिटी अफ न्युयोर्कको ल स्कुल सेन्टरकी निर्देशक तथा न्युयोर्क सिटीको पर्यावरण न्याय सल्लाहकार बोर्ड सदस्य प्रोफेसर रेबेका ब्राटस्पिज पनि यस्ता समस्या समाधानका लागि जलवायु परिवर्तनलाई सम्बोधन गर्ने अत्यावश्यकतामा जोड दिन्छिन् ।
प्रोफेसर रेबेका ब्राटस्पिज चेतावनी दिँदै भन्छिन्, ‘जलवायु परिवर्तन एक खतरा गुणक हो । यस्ता रोगहरू देखिनुको अर्थ हामी केवल सुरुमा भएको संकेत हो । जलवायु परिवर्तनका कारण गर्मीसँग सम्बन्धित, बाढीपहिरो, रोगको फैलावटसम्मका मानव स्वास्थ्य जोखिमहरू छन् । तर, हाम्रो कुनै तयारी छैन । जलवायु परिवर्तन मानव सभ्यता, लोकतन्त्र र विधिको शासनको लागि अस्तित्वको संकट हो । यो हामीले सामना गर्ने सबैभन्दा ठूलो चुनौती हो । सबैभन्दा ठूलो मानवअधिकार चुनौती, सबैभन्दा ठूलो प्रविधि चुनौती, सबैभन्दा ठूलो कृषि चुनौती, सबैभन्दा ठूलो वातावरणीय चुनौती र सबैभन्दा ठूलो स्वास्थ्य चुनौती हो । कानुनले हामीलाई संरक्षण गरेको छैन । हामीले यसमा परिवर्तन गर्नैपर्छ । र, त्यो परिवर्तन अहिले नै चाहिन्छ । यसबारे काम गर्ने समय अहिले हो । यद्यपि यो काम २० वर्ष पहिले नै गर्नुपर्ने थियो ।’
न्युयोर्क सिटीको स्वास्थ्य विभागले यसबारे पहिले पनि चेतावनी दिँदै जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा र तातो तापक्रमले न्युयोर्क सिटीको वातावरणमा लेप्टोस्पायर ब्याक्टेरियालाई धेरै समय जीवित राख्ने र भविष्यमा संक्रमणमा वृद्धि हुन सक्ने बताएको थियो । वर्षौंदेखि वैज्ञानिकहरूले पनि लेप्टोस्पाइरोसिसको प्रकोपबारे चेतावनी दिँदै आएका छन् ।
विश्वभर लेप्टोस्पाइरोसिसका संक्रमण बाढी र भारी वर्षासँग सम्बन्धित भएको वैज्ञानिकहरूको भनाइ छ । विश्वव्यापी जलवायु परिवर्तन तथा चक्रवात र बाढीजस्ता मौसमी घटनाका कारण हुने परिवर्तनहरूले सम्भावित रूपमा अन्य रोगको संक्रमणमा वृद्धि र लेप्टोस्पाइरोसिसको प्रकोप निम्त्याउन सक्ने चेतावनी वैज्ञानिकहरूको छ ।