You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

न्यायालय र मिडियाप्रति अनास्था फैलाउन ॅफेक न्युज’

- घनश्याम खड्का,जनकराज सापकोटा

(काठमाडौं)
आधा दर्जन सहकारीका करिब ५० हजार सर्वसाधारण बचतकर्ताको रकम अपचलन गरेर सञ्चालन गरिएको ग्यालेक्सी टेलिभिजनमा प्रसारित हुने कार्यक्रम ‘सिधा कुरा’ अचेल यही नामको अनलाइनमा युट्युबबाट प्रसारित भइरहेको छ । शुक्रबार बिहान ‘अपलोड’ गरिएको कार्यक्रममा नेपालको व्यावसायिक पत्रकारिता र स्वतन्त्र न्यायपालिकामाथि आधारहीन लाञ्छना लगाइएपछि सरोकारवालाहरूले गम्भीर आपत्ति व्यक्त गरेका छन् ।
‘४ सय मुद्दा हराउने गोप्य डिल, सर्वोच्चका न्यायाधीश, कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकमा सार्वजनिक यो भिडियोमा ‘हुँदै नभएको बैठक रचना गरेर, पात्रहरू खडा गरी कल्पित संवाद गराइएको’ छ ।
निश्चित मिडिया हाउस र न्यायाधीशमाथि मात्र होइन, व्यावसायिक पत्रकारिता र समग्र न्यायपालिकामाथि अनास्था फैलाउने उद्देश्यबाट प्रेरित यो सामग्रीप्रति आपत्ति व्यक्त गर्दै सर्वोच्चका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले भर्त्सना गरेका छन् । त्यस्तै ‘स्वतन्त्र न्यायपालिका, स्वतन्त्र कानुन व्यवसाय र सञ्चारगृह उपर नियोजित आक्रमण गराएर लोकतन्त्रलाई कमजोर गराउने गतिविधि’ भएको भन्दै नेपाल बार एसोसिएसनले छानबिनको माग गरेको छ । त्यस्तै कान्तिपुर पब्लिकेशन्स् र अन्नपूर्ण पोस्टले पनि प्रेस काउन्सिलमा उजुरी गर्दै यस्तो हथकण्डाको पछाडि रहेको समूहको पहिचान गरी कानुनप्रति उत्तरदायी बनाउन माग गरेका छन् ।

नियोजित रूपमा उत्पादन गरिएको ‘फेक न्युज’ मा ‘स्टिङ अपरेसनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटाइएका एक व्यक्ति अन्नपूर्ण पोस्टको गैरीगाउँस्थित कर्पोरेट अफिस पुगेको, सातौं तलाको कोठाभित्र अधिवक्ता किशोर विष्ट, सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई, पत्रकार सुरेन्द्र काफ्ले, वरिष्ठ अधिवक्ता हरि उप्रेती, कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण पोस्टका अध्यक्ष रामेश्वर थापा उपस्थित रहेको दाबी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीलाई जालमा पार्न तत्कालीन अवस्थामा गरिरहेको ‘स्टिङ अपरेसन’ सम्बन्धी नियमावली खारेजीको माग गर्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस २ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २०७८ वैशाख ८ मा सर्वोच्चले यही रिटमाथि आदेश जारी गर्दै ‘स्टिङ अपरेसन’ गर्ने व्यवस्था खारेज गरिदिएको थियो । त्यसको पूर्वसन्ध्यामा बैठक गरिएको भनेर यो अडियो सामग्री रचना गरिएको देखिन्छ ।
न्यायाधीश, मिडिया सञ्चालक तथा अधिवक्ताहरूको चरित्र हत्या र मानमर्दन हुने गरी सामग्री सम्प्रेषण भएको भन्दै प्रेस काउन्सिलले उक्त सामग्री हटाएर २४ घण्टाभित्र जानकारी दिन तथा त्यस्तो सामग्री किन सम्प्रेषित गरिएको हो भन्ने जवाफ दिन पनि निर्देशन गरेको छ । पत्रमा ‘तथ्यगत आधार प्रमाणबिनै व्यक्ति र सम्मानित संस्थाको मर्यादा, प्रतिष्ठामा आँच आउने गरी समाचार सामग्री प्रसारण गर्नु आचारसंहिताको गम्भीर उल्लंघन र प्रेस स्वतन्त्रताको चरम दुरुपयोग हुने भएकाले उक्त अडियोसहित सम्प्रेषित सामग्री हटाई २४ घण्टाभित्र काउन्सिललाई जानकारी गराउन’ भनिएको छ ।
प्रारम्भिक अध्ययनबाट नै यो सामग्री कति नाटकीय छ भन्ने प्रस्ट हुन्छ ।
१. बैठक सातौं तलामा भएको भनिएको छ । तर, पृष्ठभूमिमा बच्चाहरू कराएको आवाज प्रस्टै सुनिन्छ । कर्पोरेट अफिसको सातौं तलामा रहेको कोठाबाहिर बच्चा खेलिरहेको दाबी आफैंमा हास्यास्पद सुनिन्छ ।
२. कर्पोरेट अफिसको गोप्य कोठामा स्टिङ अपरेसनकर्तालाई भित्र लग्दा ढोका पटकपटक चुइँचुइँ गरेको आवाज सुनिन्छ । यो अडियो बनाउने समूहले कर्पोरेट अफिसमा चुइँचुइँ
गर्ने ढोका हुँदैनन् भन्नेसम्म हेक्का नगरेको देखिन्छ ।
३. भिडियोमा दाबी गरिएको छ, ॅगोप्य कोठाभित्र सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई पनि छन् ।’ भट्टराईले बोलेको भन्दै आवाज पनि सुनाइन्छ । भिडियोमा न्यायाधीश भट्टराईसहितको संवैधानिक इजलासले मुद्दाको फैसला गर्ने दाबी गरिएको छ । जबकि उक्त रिट हेर्ने संवैधानिक इजलासमा भट्टराई सदस्य नै थिएनन् । रिटको सुनुवाइ गर्दा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा संवैधानिक इजलासमा थिए । तर, निर्माण गरिएको अडियोमा भने न्यायाधीश भट्टराईले सुनुवाइमा ॅहामी तपार्इंलाई बोल्न दिन्छौं’ भनेको सुनाइएको छ । इजलासमै नभएका न्यायाधीशलाई कथित बैठकमा उपस्थित बनाएर मोलमोलाइ गरेको लाञ्छना लगाउँदै न्यायापालिकामाथि नै गम्भीर हमला गरिएको छ । न्यायाधीश भट्टराई मात्र होइन, संवादमा सहभागी भनिएका अधिवक्ता किशोर विष्टले पनि उक्त रिटको सुनुवाइमा आफूहरू सहभागी नरहेको स्पष्ट पारेका छन् ।
४. भिडियोमा कान्तिपुर र अन्नपूर्ण पोस्टका अध्यक्षहरूसँग कुराकानी भएको दाबी छ । तर, दुवै जनाको आवाज कहीँ–कतै सुनिँदैन । नमस्कार गर्दासमेत जवाफ आएको छैन ।
५. भिडियोमा दाबी गरिएअनुसार अधिवक्ता किशोर विष्ट, पत्रकार सुरेन्द्र काफ्ले र सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको दाबी गरिएको आवाज मात्रै सुनिन्छ । जबकि उनीहरू तीनै जनाले त्यो आवाज आफ्नो नरहेको स्पष्ट पारिसकेका छन् ।
६. गोप्य कोठाबाट बाहिरिएर कथित अपरेसनकर्ताले फोन गर्दा पनि केटाकेटी खेलेको र कराएको उही आवाज सुनिन्छ । यो बेला स्टिङ अपरेसनकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हाकिमसँग कुराकानी गरेको सुनाइएको छ । तर, यस्तो कुराकानीमा पनि दोहोरो आवाज छैन ।
७. अडियोमा अख्तियारको स्टिङ अपरेसनकर्तालाई सर्वोच्चमा बयान फेरिदिन न्यायाधीशले नै आग्रह गरेको भनिएको छ । जबकि रिटको सुनुवाइमा साक्षी झिकाउने, बयान गराउने प्रक्रिया नै हुन्न, सिधा पक्ष–विपक्षको बहस हुन्छ । अदालतको सामान्य प्रक्रियासमेत नबुझेको समूहले अडियो रचना गरेको देखिन्छ ।
स्वतन्त्र न्यायपालिका, कानुन व्यवसाय र सञ्चार जगत्माथि हिलो छ्याप्ने र भ्रम सिर्जना गर्न खोजिएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा पनि छलफल भएको थियो । सहकर्मीबीचको छलफलपछि अपराह्न वरिष्ठतम न्यायाधीश भट्टराईले विज्ञप्ति जारी गर्दै ‘सिधा कुरा’ मा ‘झूटो र जनतामा भ्रम छर्ने कुत्सित उद्देश्यबाट सामग्री प्रसारित’ भएको भन्दै त्यसको भर्त्सना गरेका छन् ।
‘सिधा कुरा भन्ने सामाजिक सञ्जालमा प्रसारित समाचारमा मेरो नाम जोडिएकामा म आश्चर्यचकित र स्तब्ध भएको छु । मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तकजस्तै छ । जुन मुद्दाको प्रसंगमा मलाई जोडियो सो मुद्दामा म संलग्न थिइनँ भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ । त्यति मात्र नभई जुन समयमा संवैधानिक इजलासबाट सो फैसला भयो सो अवधिमा मलाई संवैधानिक इजलासमा विरलै राखिएको कुरा पनि स्पष्ट गर्दछु,’ न्यायाधीश भट्टराईको विज्ञप्तिमा छ ।
सिधा कुराका नाममा ‘फेक न्यूज’ प्रसारित भएपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको थियो । बारले प्रेस स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै न्यायपालिका, कानुन व्यवसाय र सञ्चारमाध्यममाथिको दूषित आक्रमण नेपाल बार एसोसिएसनलाई स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ । ‘स्वतन्त्र न्यायपालिका, स्वतन्त्र कानुन व्यवसाय र सञ्चारगृहसमेत उपर नियोजित आक्रमण गर्ने गतिविधि लोकतन्त्रलाई नै कमजोर पार्ने उद्देश्यले’ भएको दाबी गर्दै बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले भनेका छन्, ‘त्यस्तो कार्य किमार्थ उचित मान्न सकिँदैन । तसर्थ, भ्रामक र दूषित सामग्री उत्पादन गर्ने–गराउने कार्यमा संलग्नहरूमाथि कारबाही गर्न नेपाल बार एसोसिएसन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’
बारको बैठकमा सहभागी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले न्यायपालिका र प्रेसलाई एकैचोटि कमजोर बनाउने सुनियोजित तरिकाबाट यो सामग्री आएको बताएका छन् । यो विषयमा अदालतको अवहेलनामा पनि मुद्दा लगाउनुपर्ने उनको सुझाव छ । ‘यो अपराधमा साइबर क्राइमअन्तर्गत प्रहरीले तत्कालै अनुसन्धान सुरु गरोस्, सर्वोच्चले तत्कालै अदालतको अवहेलनामा कारबाही गरोस् । किनकि यो हर्कत लोकतन्त्रमाथिको प्रहार हो,’ उनले भने ।
त्यस्तै कान्तिपुर मिडिया ग्रुपले व्यावसायिक पत्रकारिता र स्वतन्त्र न्यायालयविरुद्ध भ्रम फैलाएर भीडको शासन चलाउने उद्देश्यबाट प्रेरित समूहले यस्ता सामग्री उत्पादन गरेको बताएको छ । ग्रुपका अध्यक्ष कैलाश सिरोहियाद्वारा काउन्सिलमा प्रेषित पत्रमा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्थाका स्तम्भलाई कमजोर बनाएर भीडको शासनमा मनमौजी गर्न खोज्नेहरूको पहिचान गरी निरुत्साहित गर्न नसकिएमा अब ढिलो हुनेछ । त्यसैले यो हथकण्डाका पछाडि को छ ? अनुसन्धान गरी कानुनप्रति जवाफदेही बनाउन कान्तिपुर मिडिया ग्रुप प्रेस काउन्सिल र सो संस्थामार्फत राज्यका सरोकारवाला सबै निकायसँग माग गर्दछ ।’
स्वतन्त्र, व्यावसायिक र अनुसन्धानमूलक पत्रकारिताले पर्दाफास गरेका तथ्यबाट अत्तालिएको समूहले आम जनतामा भ्रम सिर्जना गर्न यो हदसम्मको हर्कत गरेको टिप्पणी गर्दै पत्रमा भनिएको छ, ‘लोकतन्त्रको पक्षमा कान्तिपुर मिडिया ग्रुपले गरिरहेको पहरेदारी तथा भ्रष्टाचार र बेथितिप्रतिको खबरदारीलाई हतोत्साहित गर्न सकिन्छ कि भन्ने कुत्सित मनसायले ‘फेक न्युज’ उत्पादन र सम्प्रेषण भएको हो । तर, यस्ता हथकण्डाबाट कान्तिपुर मिडिया ग्रुप विचलित हुनेछैन ।’
प्रविधिको चरम दुरुपयोग गरी भ्रामक सामग्री उत्पादन गर्ने कारखाना बनाएर छद्म व्यक्तिहरूले आफ्नो पूर्वाग्रह साध्नका लागि प्रयोग गरिरहेकामा कान्तिपुरले चिन्ता व्यक्त गरेको छ । ‘यस्ता समूहले निष्ठावान व्यक्ति र संस्थाको मानमर्दन मात्र होइन, राज्यका शासकीय संरचनाका विभिन्न अंगहरूलाई बदनाम गर्ने हर्कत पनि गरिरहेका छन् । यसैको पछिल्लो कडीस्वरूप सर्वोच्च न्यायालयका न्यायाधीश र मिडिया हाउसको नाम जोडिएको हो,’ पत्रमा भनिएको छ, ‘काल्पनिक बैठक रचना गरेर, पात्रहरूलाई उपस्थित भएको बनाएर तयार पारिएको यो नाटक निश्चित मिडिया हाउस र न्यायाधीशमाथि मात्र होइन, समग्र व्यावसायिक पत्रकारिता र न्यायपालिकामाथि अनास्था फैलाउने उद्देश्यबाट प्रेरित छ भन्ने स्पष्ट छ ।’
त्यस्तै, उक्त सामग्री पूर्वाग्रहका लागि सिर्जना गरिएको, भाइरल बनाउन खोजिएको र भ्रमपूर्ण कथित पात्रहरू उभ्याई नाटक गरिएको भन्दै अन्नपूर्ण दैनिकका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले प्रेस काउन्सिलमा शुक्रबारै उजुरी गरेका थिए । उजुरी परेलगत्तै काउन्सिलले उक्त भिडियो तत्काल हटाउन सिधाकुरा डटकमलाई निर्देशन दिएको हो । उजुरीमा थापाले भनेका छन्, ‘यस दुराचारयुक्त समाचारप्रति नेपालको कानुन फौजदारी अपराध संहितासमेत आकर्षित हुने हुनाले उचित कानुनी पहलसमेत यथाशीघ्र चालिदिनुहुन अनुरोध गर्दछु ।’
सामग्रीमा नाम लिइएका अन्नपूर्ण दैनिकका पत्रकार सुरेन्द्र काफ्लेले पनि प्रेस काउन्सिललाई पत्र लेख्दै आफ्नो नाम जोडेर चरित्र हत्या गरी मान प्रतिष्ठामा आघात पुर्‍याउनेलाई अविलम्ब कारबाही गर्न आग्रह गरेका छन् । ‘मैले भन्दै नभनेको र बोल्दै नबोलेको अवस्थामा कपोलकल्पित ढंगले भ्रमपूर्ण तवरमा ‘फेक अडियो’ निर्माण गरिएको छ । जुन पात्रले बोलेको कुरा मेरो भनाइ भनिएको छ, त्यो मेरो आवाज नभएको स्पष्ट पार्न चाहन्छु । काउन्सिलले यसको प्राविधिक परीक्षण गरी सत्य तथ्य पहिल्याओस् भनी आग्रहसमेत गर्दछु,’ उनले भनेका छन् । फेक अडियोबाट आफ्नो प्रतिष्ठामा क्षति पुर्‍याउनेलाई दण्डित गर्न राज्यका निकायमार्फत लडिरहने पनि उनले बताएका छन् ।
यो अडियो संवादमा सहभागी भनिएका अधिवक्ता किशोर विष्टले उक्त सामग्री आपराधिक मनसायले तयार पारिएको ‘फेक अडियो’ भएको बताएका छन् । ‘दुई व्यक्तिको एकोहोरो आवाजमध्ये एउटा मेरो भनिएको छ, त्यो मेरो आवाज होइन र म कहिल्यै अन्नपूर्ण पोस्टको कार्यालयमा गएको पनि छैन,’ विष्टले भने, ‘कुरा गरिएको ढाँचा र पृष्ठभूमिमा बच्चाहरू कराएको आवाज तथा मुद्दाका बारेमा गरिएको टिप्पणीले त्यो अडियो पूराका पूरा झूटो हो भन्ने मात्रै सिद्ध गर्दैन, यो कार्यक्रमका सञ्चालकले
आफैं वा अरू कसैको इसारामा आपराधिक षड्यन्त्र गरेका हुन् भन्ने पनि बुझिन्छ । यस्तो अपराध गर्नेलाई कानुनी दायरामा ल्याउनैपर्छ ।’

 

मुख्य पृष्ठ

छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे

- शिव पुरी

(रौतहट)
बुढ्यौली उमेर आराम गर्ने उमेर हो, तर रौतहटको यमुनामाई–४ सरुअठा गाउँका ८३ वर्षीय श्रीनारायण सिंहले पछिल्ला
करिब डेढ दशक ‘आराम’ भन्नसमेत भ्याएनन् । न्यायका लागि अड्डा अदालत धाउँदैमा उनको बुढ्यौली उमेरका झन्डै
साढे १६ वर्ष बिते ।
सरुअठा गाउँको पूर्वतिर बाक्लो बस्तीको बीचमा रहेको सिंहको घरमा शुक्रबार पुग्दा उनी २२ वर्षमा मारिएका छोरा त्रिलोकप्रताप सिंहको तस्बिर हातमा लिएर टोलाइरहेका थिए । आँखाभरि आँसु पारेर तस्बिरलाई छातीमा राखे । केही समयपछि सुमसुम्याउन थाले । आँगनमा रहेकी त्रिलोककी आमा ८० वर्षीया कमलादेवी पनि भक्कानिँदै थिइन् ।
त्रिलोकको हत्या आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसहित ४ जनालाई बिहीबार
जिल्ला अदालत गौरले जन्मकैदको फैसला गरेको थियो ।
फैसला सुन्न श्रीनारायण अदालत नै पुगेका थिए । तीन दिन लगातार बहसपछि न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आफताब आलमसहितलाई जन्मकैदको फैसला गरेको थियो । सिंहले तीन दिन नै अदालत पुगेर बहस सुनेका थिए, फैसला पनि सुने ।
बम विस्फोटमा परी घाइते छोरालाई जिउँदै इँटाभट्टामा हालेर मारेको भन्दै हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित उनले १६ वर्ष ८ महिना अदालत धाए । घटनामा मारिएका छोराको तस्बिर हातमा राखेर रुँदै गरेका बेला भेटिएका सिंहले भने, ‘न्यायसित सम्बन्धित गुनासा त छैनन्, तर कहिल्यै नफर्किने गरी मारिएको छोराको यादले भने हाम्रो परिवारलाई सधैं सताइरहनेछ ।’
छोराको हत्यारालाई अदालतले जन्मकैदको सजाय सुनाएपछि न्याय मरेको छैन भन्ने भान भएको श्रीनारायणले सुनाए । यति भन्दै गर्दा उनका आँखाभरि आँसु टलपलाइरहेको थियो । ‘मेरो छोरालाई खसी–बोका जस्तै गरी जिउँदै इँटाभट्टामा हालेर मारे,’ उनले भने, ‘छोराको हत्यारालाई जन्मकैदको सजाय दिलाउन सफल भएँ, अब उसको आत्माले शान्ति पाउँछ ।’
न्यायका लागि लडेका सिंहले यसबीचमा भौतिक रूपमा
आफ्नो समय मात्र होइन, मुद्दालाई न्यायको रूप दिन १६ वर्षमा ३ बिघा जमिन पनि बेचे । अहिले उक्त जमिनको मूल्य झन्डै २ करोड रुपैयाँ पर्छ ।

संवाद गरिरहँदा आँसुले उनको आँखाको डिल छाडेको थिएन । घरीघरी हात वा गम्छाले आँसु पुछ्थे । ‘न्यायपछि यो त खुसीको आँसु हो बाबु,’ उनले थपे । सिंह बसेको कोठाबाहिर आँगनमा रहेकी त्रिलोककी आमा कमलादेवी छोराको मृत्यु वियोगले धेरै बोल्न सक्ने अवस्थामा थिइनन् । उनी लट्ठीको सहाराले हिँडडुल गर्छिन् । छोराको मृत्युको खबरले थलिएकी उनी अहिलेसम्म छोराबारे कसैले सोध्यो भने खासै बोल्दिनन् । ‘छोरा मार्नेहरू जेल त गए, तर उनीहरू सजाय काटेर बाहिर आउँछन् र परिवारसितै बस्छन्,’ उनले भनिन्, ‘मेरो त काख रित्तिएको छ, कहिल्यै नआउने गरी छोरा मारिएको छ ।’
सिंह परिवारका त्रिलोक कान्छा छोरा हुन् । जेठा सत्येन्द्रप्रताप सिंह सञ्चारकर्मी हुन् । उनी मध्यान्तर दैनिकमा रौतहट संवाददाताका रूपमा कार्यरत छन् । अहिले बुवाआमाको रेखदेख तिनै सत्येन्द्रले गरिरहेका छन् ।
भारतको सीतामाढीस्थित गोयन्का कलेजको बीएस्सी दोस्रो वर्ष अध्ययन गर्दै गरेका त्रिलोक २०६४ चैत १७ मा घर आएका बेला विस्फोटमा परेका थिए । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात अर्थात् चैत २७ को राति राजपुर फरदहवास्थित कांग्रेसका नेता शेख इद्रिसको गोठमा विस्फोट हुँदा घाइते हुन पुगेका त्रिलोकलाई बेहोस हुने सुई लगाएर जिउँदै चिम्नी भट्टामा हालेको आरोपमा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलम, उनका भाइ महताब आलमसहित ११ जनाविरुद्ध कारबाही माग राख्दै बुवा श्रीनारायणले काठमाडौं र गौर अदालत धाएका थिए । घटनाको १२ वर्षपछि २०७६ असोज ११ मा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी (हाल एसएसपी) भूपेन्द्रबहादुर खत्रीले आलमलाई पक्रेपछि बल्ल अनुसन्धान अघि बढेको थियो ।
घटनाका दिन त्रिलोकलाई आफताबका मानिसहरू आएर चुनाव प्रचारका लागि भनेर लगेको श्रीनारायण सुनाउँछन् । ‘चुनाव आलमले जिते,’ उनले भने, ‘तर राजनीतिक यात्रा तय गर्न मेरो छोराको बलि चढाए ।’ त्यस दिन विस्फोटको ठूलो आवाज आफ्नो कानसम्मै आएको श्रीनारायणले बताए । ‘चुनावका बेला कतै केही भयो होला भनेर चुप बसें,’ उनले भने, ‘तर बिहानपख गाउँका मानिसले विस्फोटमा त्रिलोक मारिएको खबर सुनाए ।’ त्यसपछि सिंह दम्पती घरमै ढलेका थिए ।
घटनास्थल पुगेका तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपाने (टीकापुर घटनामा मारिएका) ले कुनै किसिमको विस्फोट नभएको भन्दै मुचुल्का तयार पार्न लगाएका थिए । त्यही मुचुल्कालाई आलम पक्षका अधिवक्ताले नजिर बनाइरहे ।
श्रीनारायण जाहेरी बोकेर २०६५ वैशाख ६ मा जिल्ला प्रहरी कार्यालय पुगे । तर त्यहाँ कुनै सुनुवाइ भएन । एसपी न्यौपानेले सिंहको जाहेरी दर्ता नै गरेनन् ।
घटनामा घाइते सरुअठाका २० वर्षीय ओसी अख्तरलाई पनि त्रिलोकसँगै जिउँदै भट्टामा हालेको भन्दै आमा रुक्साना खातुन पनि सिंहसँगै प्रहरीमा जाहेरी बोकेर गएकी थिइन् । दुवैको जाहेरीलाई प्रहरीले वास्ता नगरेपछि वैशाख ९ मा हुलाकमार्फत पठाए । वैशाख १८ मा जिल्ला प्रहरी पुगेको जाहेरीउपर प्रहरीले पीडित दुवैलाई बोलाएर सनाखत गरेको थियो । त्यसपछि प्रहरीले झारा टार्ने खालको अनुसन्धान गरेको सिंहको गुनासो छ । जाहेरी दर्तापछि २०६५ असार ९ मा आफताब आलमसहित ५ जना जिल्ला प्रहरीमा हाजिर भए । प्रहरीले त्यही दिन ५ जनासित बयान लियो र जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्दा बुझायो । न्यायाधिवक्ताको कार्यालयले आलमसहित सबैलाई मुद्दा नचल्ने निर्णय गर्‍यो । यसले न्यायका लागि लडिरहेका सिंह र रुक्सानालाई आघात पुग्यो । जिल्ला न्यायाधिवक्ताले गरेको निर्णय पुनरावेदन अदालत हेटौंडा हुँदै महान्यायाधिवक्ताको कार्यालय काठमाडौं पुग्यो र मुद्दा नचल्ने निर्णय सदर भयो ।
न्यायाधिवक्ताले गरेको निर्णय बदरको माग गर्दै श्रीनारायण र रुक्सानाले २०६५ साउन २५ मा सर्वोच्च अदालतमा निवेदन दिए । ‘त्यसबेला देशमा न्याय मरेको भान भयो,’ श्रीनारायण सुनाउँछन्, ‘जिउँदै मानिसलाई इँटाभट्टामा हालेको मुद्दा पनि नचल्ने भनेर निर्णय गरियो, त्यो अन्यायको पराकाष्ठा थियो ।’
२०७९ जेठ १६ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै गम्भीर रूपले अनुसन्धान गरी मुद्दा चलाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिएकी थिइन् । त्यसपछि पीडितहरू फैसला कार्यान्वयन निर्देशनालय गए । त्यहाँ कुनै सुनुवाइ भएन ।
यसबीचमा माइती गएका बेला रुक्सानाको गोली हानी
हत्या गरियो । यो घटनापछि श्रीनारायणले आफू पनि असुरक्षित महसुस गरे, डराए । कुनै पनि बेला आफू पनि मारिन सक्ने डर उनमा रहिरह्यो ।
२०७६ असार ६ मा आदेशको पालना किन नभएको
भनेर सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार
गरेको थियो ।
त्यसबीच धेरै पटक राजधानी धाएका श्रीनारायण थाकेनन् । खर्चले धान्न नसकेपछि उनी काठमाडौंको न्युरोडस्थित धर्मशालामै सुत्थे ।
महान्यायाधिवक्ता कार्यालयको पत्रअनुसार तत्कालीन एसपी खत्री (हाल एसएसपी) ले आलमलाई पक्राउ गरेका थिए । यसबीचमा मुद्दाको मिलापत्रका लागि करोडौं रुपैयाँको लोभसमेत देखाएको र मुद्दाको सुनुवाइ हुँदै गर्दा घरमै केही मानिस आएर चुप बस्न धम्कीसमेत दिएको श्रीनारायणले सुनाए ।
‘तपार्इं कति पैसा लिनुहुन्छ लिनुस् तर अदालत नजानुस् भनेर आलमका मानिसहरू आए,’ उनले भने, ‘छोराभन्दा पैसा ठूलो होइन, पैसा होइन छोरा दिनुस् भनेर मैले उनीहरूलाई फर्काएँ ।’ आलमले गाउँकै मानिस लगाएर पैसाको लोभ देखाउने गरेको पनि उनको भनाइ छ । अदालतले बकपत्र गराउने बेला पनि ठूलो रकम दिन खोजे पनि सिधै इन्कार गरेको सिंहले सुनाए ।
विस्फोटमा श्रीनारायणका छोरा त्रिलोक र रुक्साना खातुनका छोरा ओसीलाई जिउँदै चिम्नी भट्टामा हालेर मारेको आरोपमा प्रहरीले मोहम्मद अफताब आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज, शेख फजलेहक, शेख भदई, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारलगायत ११ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहित २०७६ कात्तिक १८ मा अदालतसमक्ष अभियोगपत्र दर्ता भएको थियो । आलमलाई जिल्ला अदालत गौरले २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको थियो । उनी अहिले नख्खु जेलमा छन् । भाइ महताब गौर कारागारमा छन् ।
२०७६ कात्तिक १८ मा दर्ता भएको मुद्दा साढे ४ वर्ष बितिसकेको थियो । विस्फोट घटनाको १२ वर्षपछि २०७६ असोज २६ मा आलम पक्राउ परेसँगै राजनीतिक आवरणमा गुमनाम उक्त घटनाको अनुसन्धानले सार्थकता पाएको थियो । त्यसपछि न्याय पलाएको श्रीनारायणले सुनाए । यही घटनामा ओसीका श्रीमती आमना खातुन र ससुरा समसुल मियाँले अदालतमा बयान बदलेका छन् । श्रीनारायण भन्छन्, ‘रकम लिएर बयान बदलेको हुन सक्छ ।’ दुवैले आलमको पक्षमा बयान दिएपछि श्रीनारायण झस्किएका थिए । तर पनि वृद्ध सिंहले हिम्मत हारेनन् । कहिल्यै थकान महसुस नगरी न्यायका लागि काठमाडौं र गौर यात्रा गरिरहे ।

Page 2
म्यागेजिन

युवा नेपाली फिल्मकर्मीका वृत्तचित्र हेर्न मन पराउँछु

- कान्तिपुर संवाददाता

 

नेपालमा रहेका शरणार्थीलाई संरक्षण गर्ने र उनीहरूका समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघका शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) ले नेपाल सरकारको समन्वयमा सन् १९९० को दशकदेखि काम गरिरहेको छ । नेपालमा शरणार्थीका समस्यालाई सम्बोधन गर्ने कार्यको नेतृत्व हाल यूएनएचसीआर प्रतिनिधि क्यारेलिन स्पन्नुथ वर्माले गरिरहेकी छन् । जर्मनीको
ह्याम्बर्गमा जन्मेहुर्केकी वर्माले यसअघि अमेरिकाको न्युयोर्कस्थित मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) मा काम गरिसकेकी छन् । मानव अधिकारपछि भने उनले शरणार्थीको संरक्षणमा काम गर्न यूएचएनसीआरमार्फत काम गर्न थालेकी हुन् । उनले मोरक्को, मलेसिया, इन्डोनेसिया, उत्तरी म्यासेडोनिया, बुल्गेरिया र जेनेभामा रहेको यूएचएचसीआरको मुख्यालयमा अन्तर्राष्ट्रिय संरक्षण विभाग र एसिया ब्युरो र अफ्रिका ब्युरोमा विभिन्न अन्तर्राष्ट्रिय संरक्षण र कानुनी पदहरूमा काम गरिसकेका छन् । यूएनएचसीआरकी नेपाल–प्रतिनिधि वर्मासँग नेपाल, यहाँको परिवेश, भूगोल, भाषा, साहित्य, चाडपर्वलगायत विभिन्न विषयमा कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं पहिलो पटक नेपाल कहिले आउनुभयो र नेपालबारे कस्तो अनुभव छ ?
सन् २०१९ सेप्टेम्बरमा नेपाल टेक्दा यहाँको असाधारण सुन्दरताले मलाई तुरुन्तै मोहित बनायो । नेपालको पहाड र पर्वतसँग मेरो माया बस्यो । मेरो यात्रा कोभिड–१९ को सुरुआतसँगै होला भन्ने मलाई अलिकति पनि ज्ञान थिएन । महामारीको चुनौती हुँदाहुँदै पनि म दृढ रहें र प्रायः नेपालको पूर्वी भागमा पर्ने पनि कोशी प्रदेश घुमें । मोरङ जिल्लाको पथरी शनिश्चरे र झापा जिल्लाको बेलडाँगी भुटानी शरणार्थी बस्ती पुगेर त्यहाँका स्थानीय र प्रदेश सरकारका अधिकारी र शरणार्थीलाई भेटेपछि मलाई निकै सन्तुष्ट भयो । चुनौतीहरूबीच मानवीय करुणा र दृढता स्पष्ट देखिन्थ्यो । कोभिड–१९ ले ल्याएको उथलपुथलको समयमा नेपालका प्राकृतिक सुन्दरताले मलाई सान्त्वना दिए । कोशीको न्यानो मौसम काठमाडौंको चिसो मौसमबाट आउनेका लागि स्वागतयोग्य परिवर्तन थियो । काठमाडौं उपत्यका वरिपरिका सुन्दर पहाडहरूले मलाई निकै उमंग दिने गरेका छन् र म शनिबार पारेर यी पहाड चढ्दै आएकी छु । मनमोहक दृश्य र नेपाली पदयात्री
साथीहरूले हरेक यात्रालाई अविस्मरणीय बनाएका थिए । नेपालको सुन्दरता शब्दमा बयान गर्न सकिँदैन । त्यसका लागि म सदैव आभारी छु ।

नेपालमा काम गर्दा धेरै मानिस भेट्नुभएको छ । नेपालका मानिसहरू कस्तो पाउनुभयो ?
कोभिड–१९ महामारीको समयमा मेरो नेपाल यात्रा र त्यसपछिको लकडाउनले मानवीय भावनाको दृढता र अनुकूलतालाई प्रमाणित गरिदियो । विश्व भर्चुअल सञ्चारमा परिवर्तन हुँदै गर्दा मेरा नेपाली साझेदारहरूले निकै छिटो यस प्रकारको प्रविधि र भर्चुअल सञ्जाल अपनाउन सकेकोमा दंग थिएँ । छोटा र विनम्र शब्दका ह्वाट्सएप सन्देशहरूले सहकार्य र साझेदारीलाई बढाइराख्यो, यसले एकता र सहयोगको सोच देखाउँथ्यो । मोबाइल फोनमा हुने टिम मिटिङमा धेरै सरकारी पदाधिकारीहरूसँग कुराकानी हुन्थ्यो । यस यात्राका दौरान जो–जो नेपालीहरूसँग मेरो भेट भयो, ती सबैको दयालुपन र दृढ संकल्पबाट म निकै नतमस्तक छु । अथक कामप्रति उनीहरूको अटल प्रतिबद्धता, अक्सर राति अबेरसम्म र साताका
अन्तिम दिनमा पनि काम गर्ने उनीहरूमा जिम्मेवारी र करुणाको बलियो भावना रहेको देखाउँथ्यो । धेरै नेपाली साझेदार, सरकार र नागरिक समाजको सहयोग लिएर हामीले शरणार्थीका लागि अत्यावश्यक जनस्वास्थ्य सेवा, खोप र अन्य सेवा प्राप्त हुने अवस्था सुनिश्चित गर्‍यौं । यो भनेको सहकार्यको शक्ति, अनि चुनौतीहरू पार गर्ने मानव जातिको असीमित क्षमताको प्रमाण हो ।

नेपालको मौसम कस्तो पाउनुभयो ?
हरेक बिहान मलाई सूर्यले उज्यालो छर्दै स्वागत गर्छ अनि दिउँसो न्यानो अँगालो फैलाउँदै ज्योति दिन्छ । मैले काम गरेका अन्य कुनै पनि देशमा कहिल्यै यसरी अनवरत घाम लागेको देखेकी थिइनँ– यो दैनिक आशीर्वाद हो, जसले मलाई प्रसन्न र आभारी बनाउँछ । मेरो गृहनगर ह्याम्बर्गमा भन्ने गरिन्छ– ‘मौसम खराब हुँदैन, अनुपयुक्त लुगा चयन मात्रै खराब हो ।’ यो मानसिकता अँगालेकी मैले हरेक ऋतु, मौसमको प्रशंसा गर्न सिकेको छु, नेपालको जाडो र मनसुन महिना त मलाई झनै मनपर्छ । एकदमै चिसो र सबभन्दा धेरै पानी पर्ने
दिनहरूलाई पनि उचित लुगा लगाएर प्रकृतिको मनमोहकताको आनन्द लिने सुन्दर अवसरमा बदल्न सकिन्छ । चिरस्थायी घाम देखिने यस क्षेत्रमा हरेक दिनले मलाई जीवनको सारभूत खुसी याद दिलाउँछ ।

नेपालको खाना कस्तो लाग्यो ? कुन परिकार सबैभन्दा
मन पर्‍यो ?
मेरो जवाफ आश्चर्यजनक नहोला तर मैले स्विकार्नैपर्ने कुरा मलाई दालभात निकै मनपर्छ । यसको सरलपन र यसले दिने पोषणबारे केही असाधारण कुरा छ । त्यसैले यो मेरो हरेक दिन संकोच नमानीकन खाने खाना बनेको छ । शाकाहारी भोजन लोकप्रिय रहेको नेपालमा दालभातमा रमाउनु एउटा उत्कृष्ट उदाहरण हो । नेपालमा पाइने स्थानीय सागसब्जी र फलफूलले हरेक खानालाई स्वाद र ताजापन प्रदान गर्दछ । स्वादिलो एभोकाडो, करेला र पालुंगोदेखि रसिलो सुन्तला र मीठो मालभोग केरासम्म, नेपालको असाधारण गुणस्तरीय उपजले म दंग भएकी छु । हरेक गाँसले नेपाली भोजनको स्वादलाई नेपाली आतिथ्यसँग जोड्छ, जसले हरेक भोजनमा संस्कृति र भोजनकला स्वाद पस्कन्छ ।

नेपालको रीतिरिवाजबारे के बुझ्नुभयो ?
मलाई एकदमै मनपर्ने नेपाली अभिवादन नमस्ते हो । यो मधुर भावले, मैले दिँदा र लिँदा, सधैं मेरो हृदयमा न्यानो आभास गराउँछ । कोभिड–१९ का कारण लागेका प्रतिबन्धका बाबजुद पनि नमस्तेको भावनामा कुनै परिवर्तन थिएन, जसले यसको कालातित महत्त्वलाई दर्शाउँछ । नमस्ते सर्वव्यापी छ र नमस्तेबारे मलाई सबभन्दा मनपर्ने कुरा यही हो । नमस्ते हरेक संस्कृतिभन्दा माथि छ र जहाँ गए पनि यसले मलाई घरजस्तो अनुभूति दिलाउँछ । मुस्कानसँगैको नमस्ते सरल तर शक्तिशाली उदारता कार्य हो जसले जोकोहीको दिन उज्यालो बनाउँछ ।

नेपालको चाडपर्व मनाउनुभयो ? कुन पर्व मन पर्‍यो ?
पक्कै पनि । मलाई नेपालका चाडपर्व निकै मन पर्छ, विशेष गरी दसैं र तिहार । दसैं र तिहारमा सहरभरिका मानिसमा एकता अनि मित्रताको भावना हुन्छ । एक पलका लागि सामान्य दिनचर्या रोकिएको छ कि भन्ने बोध गराउँछ । सडक र गल्लीमा बत्ती, सजावट र परम्परागत संगीतको मधुर धुनको आनन्द लिन्छु । यी कार्यक्रमहरूले मलाई नेपाली संस्कृति र परम्पराको अनुभवसमेत दिलाउँछन् । र, यो सुन्दर राष्ट्रप्रति मेरो प्रशंसालाई झन् गहिरो बनाउँछन् ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ? नेपालमा कति भाषा छन्, थाहा छ ?
नेपालमा १२० भन्दा धेरै भाषा छन्, जसले नेपालको सांस्कृतिक, धार्मिक र भाषिक विविधतालाई देखाउँछ । मैले केही नेपाली पनि सिकेकी छु र अझै पनि सिकिरहेकी छु । जुन देशमा बसिन्छ, त्यो देशको भाषा सिक्नुको मजै बेग्लै हुन्छ । यसले नेपाल र यहाँका जनतालाई बुझ्न र प्रशंसा गर्न सहयोग गर्दछ । मैले सुरुदेखि नै भाषा सिकेको भए हुन्थ्यो भन्ने लाग्छ तर पनि अहिले नेपाली भाषालाई अँगाल्न पाउँदा धेरै खुसी लागिरहेको छ ।

नेपाली गीतसंगीत सुन्नुभएको छ ? मनपर्ने कुनै गीत छ त ?
‘रेसम फिरिरी’ बोलको गीत सुन्दा यसले मलाई आनन्द, उत्सव र सद्भावको संसारमा लैजान्छ । बेग्लै संसारमा लैजाने यसको धुनले मेरो मन शान्त राख्दछ, मलाई प्रोत्साहित गर्दछ । यसले मलाई नेपाली भावनाको शाश्वत सुन्दरता एवम् शक्ति र मैले काम गर्ने शरणार्थीहरूबारे याद दिलाउँछ । कुनै आश्चर्यको कुरा नै छैन, नेपाल शरणार्थीहरूप्रति निकै उदार छ । जसले रेसम फिरिरीमा चित्रण गरिएको सुन्दरतालाई आफ्नै गृहदेशमा छाडेर हिँड्नुपरेको छ । मैले प्रायः सुन्ने गरेको र मेरो मन छोएको अर्को गीत नेपाली रक ब्यान्ड अल्बाट्रसको ‘आफ्नै संसारमा किन’ भन्ने बोलको गीत हो ।

नेपाली साहित्यसँग परिचित हुनुहुन्छ ? कुनै कृति मन परेको छ ?
प्रसिद्ध साहित्यकार पारिजातका कृतिहरू मलाई एकदमै राम्रो लाग्छन् र तिनले मेरो मनमा छाप छोडेका छन् । पारिजातका लेखहरूमा नेपाली महिला र समाजका सीमान्तीकृतहरूका सहनशक्ति र बहादुरीबारे सशक्त अभिव्यक्ति छ । तिनले क्रूरता र अत्याचारका कारण घर र आफन्त छोडेर भाग्न बाध्य शरणार्थीहरूका मनका भावनालाई छुन्छ । पारिजातले बहादुरीसाथ आफ्ना विचारोत्तेजक लेखहरूमा गुमाइ, तृष्णा र प्रेमका जटिलतालाई पस्कन्छिन् । यसले निर्वासन र अनिश्चिततालाई व्यवस्थापन गर्दै अघि बढ्ने शरणार्थीहरूको जटिल यात्रालाई प्रतिविम्बित गर्दछ । यदि मैले समय यन्त्रमा बसेर कुराकानी गर्नका लागि एउटा मान्छे रोज्ने मौका पाएँ भने पारिजातलाई रोज्ने थिएँ ।

नेपाली फिल्म हेर्नुभएको छ ?
म त्यति फिल्म हेर्दिनँ । विशेष गरी नेपालको प्रकृतिको मनमोहक सुन्दरता र काठमाडौंको जीवन्त सडकहरूको आनन्द लिन पाउँदा फिल्ममा ध्यान नै जाँदैन । हेर्नका लागि यति अविश्वसनीय दृश्य छन्, थिएटरमा गएर सिटमा बसेर फिल्म हेर्दै आफूलाई सीमित राख्नु उचित देख्दिनँ म । तथापि, म युवा नेपाली फिल्मकर्मीहरूले बनाएका वृत्तचित्रहरू हेर्न मन पराउँछु । प्राकृतिक सुन्दरता एवम् संस्कृति र नेपालले सामना गरिरहेका वातावरणीय परिवर्तनहरूको चित्रण गर्ने वृत्तचित्र मलाई धेरै मन पर्छ ।

नेपालका कुन–कुन ठाउँ घुम्नुभएको छ ? कुन ठाउँ मन पर्‍यो ?
नेपाललाई घर भन्न पाउनु सौभाग्यको कुरा हो । नेपालमा मेरो कामले मलाई देशभरका शरणार्थीहरूसम्म पुर्‍याउँछ । म यहाँ बस्दाको समयमा म कोशी प्रदेश, पोखरा, मुस्ताङजस्ता ठाउँहरू बारम्बार पुगेकी छु । त्यहाँ मेरो भेट भुटानी र तिब्बती शरणार्थीहरूसँग हुने गर्छ । यसबाहेक मेरो टिम र मेरो विभिन्न पृष्ठभूमिबाट जबर्जस्ती विस्थापित भएका व्यक्तिहरूसँग नियमित भेट हुन्छ । यी भेटघाट पेसागत आवश्यकताले मात्र नभएर प्रत्यक्ष सम्बन्धहरू विकास गर्ने, शरणार्थीहरूको आवश्यकता, समस्या बुझ्ने र समाधानको प्रस्तावहरू निकाल्ने लगावका कारण हुने गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयमा रहेर काम गर्नुको सुन्दरता भनेको हामी ती मानिसहरूसँग प्रत्यक्ष जोडिन्छौं । जसका लागि हामी काम गर्दछौं । दोस्रो, कोभिड–१९ का कारण लकडाउन भएपछि नेपालले मलाई पहाड र प्रकृतिको अध्ययन गर्ने व्यक्तिगत मार्गमा हिँड्ने अनुमति दिएको छ ।

नेपाल कला र संस्कृतिमा धनी रहेको तपाईंलाई थाहा छ । नेपालको कला र संस्कृतिबारे तपाईं के भन्नुहुन्छ ?
नेपालको कला र संस्कृतिबारे मलाई सबभन्दा मनपर्ने कुरा भनेको हर पक्षमा प्रवेश गर्ने गतिशील मिश्रण हो । यो विविधता प्रभावहरू भएको एउटा सुन्दर मिश्रण हो– धर्म र संस्कृतिको मिश्रण, मन्दिरहरूमा स्थापत्य अर्थात् वास्तुशैलीको मिश्रण वा परम्परागत कलामा जीवन्त रङहरूको सौहार्दपूर्ण पारस्परिक अन्तरक्रियात्मक मिश्रण । यसबाहेक नेपालको कला र संस्कृतिले विगत र वर्तमानलाई, पुस्ताहरूलाई जोड्छ र आफ्नोपन एवम् गर्वको भावना अभिवृद्धि गर्दछ । हामी नेपालमा शरणार्थीहरूबीच पनि कला र शिल्प संरक्षणका लागि सोही प्रकारको अनुराग देख्दछौं । म ह्याम्बर्गमा हुर्कें । त्यहाँको वातावरणमा रेखाचित्र, चित्रकला र शिल्पकलालाई मेरो परिवार र शिक्षकहरूले निकै महत्त्व दिन्थे । यति धेरै नेपालीको सिर्जनशीलतालाई म निकै प्रशंसा गर्दछु । पुराना घरहरूको जीर्णोद्धारमा गरिएका प्रयासलाई म प्रशंसा गर्दछु र इमानदारीपूर्वक के भन्दछु भने नेपालीहरूको पुराना सीप र शिल्पकलालाई कायम र संरक्षित राखिनुपर्छ ।

शरणार्थीहरूको अधिकार रक्षा गर्न नेपालमा यूएनएचसीआरको भूमिका के छ ?
यूएनएचसीआरको कार्यदेश भनेको शरणार्थीहरूलाई राष्ट्रियताको पर्वाह नगरी कुनै पनि भेदभावबिना संरक्षण र समस्याहरूको समाधान गर्न प्रयत्न गर्नु हो । यसले शरणार्थीहरूको सुरक्षाका लागि प्रणालीहरू स्थापना गर्न, आदर्श रूपमा शरणार्थी नीतिहरू र कानुनहरू अपनाएर र उपयुक्त रूपमा मानवीय सहायता प्रदान गर्न सम्बन्धित मुलुकको सरकारलाई समर्थनमा लिएर काम गर्छ । त्यो पनि विशेष आपत्कालीन समयमा एचएनएचसीआरले काम गर्छ । शरणार्थीको एक अनिवार्य अधिकार ‘नन–रिफउलेमेन्ट’ को सिद्धान्तद्वारा सुरक्षित हुनु हो । यसको मतलब कुनै पनि शरणार्थीलाई उनीहरूको इच्छाविपरीत आफ्नो मूल देशमा फिर्ता गर्न सकिँदैन । नेपालका तिब्बती र भुटानी शरणार्थीहरू ३० देखि ६० वर्ष पहिले आएका थिए । नेपालमा भुटानी शरणार्थीहरूले सन् २००७–२०१६ को बीचमा १ लाख १३ हजार ५ सयभन्दा बढी संख्या समूह पुनर्वास कार्यक्रमबाट लाभान्वित भएका थिए । स्वैच्छिक स्वदेश फिर्ता गर्न असम्भव रहेको अवस्थामा सार्वजनिक सेवा र नेपाली समाजमा शरणार्थी यूएनएचसीआरले नेपाल सरकारलाई सहयोग गर्दै आइरहेको छ । अहिले नेपालमा २० हजारभन्दा कम शरणार्थी बाँकी छन् ।

यूएनएचसीआरले नेपाल सरकारसँग कसरी काम गरिरहेको छ ?
यूएनएचसीआर–नेपालले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायत सार्वजनिक सेवाहरूमा समावेश गरी शरणार्थी संरक्षण र समाधानका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारहरूसँग नजिकबाट काम गरिरहेको छ । यूएनएचसीआरले वर्षौंदेखि नेपालको स्वास्थ्य र शिक्षा पूर्वाधारमा सहयोग गर्दै आएको छ । सन् २०१७ मा यूएनएचसीआरले सुरुका सात भुटानी शरणार्थी शिविरहरूलाई झापा र मोरङ जिल्लामा दुई वटा बस्तीमा परिणत गर्‍यो । बसोबास र सडक सुदृढ गर्‍यो । सौर्य ऊर्जाबाट बिजुली प्रदान गर्‍यो । र, शरणार्थी समुदायमा रहेका संस्थाहरूमार्फत शरणार्थीको क्षमतालाई अभिवृद्धि गर्‍यो । यूएनएचसीआरले सम्बन्धित सरकारी अधिकारीहरूका लागि नियमित जागरुकता र क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्दछ । विगतका केही वर्षहरूमा यूएनएचसीआरले शरणार्थीहरू र उनीहरू जोडिएका नेपाली समुदायहरूको सीप विकास र जीविकोपार्जनका अवसरमा लगानी गरेको छ । हामीले साँच्चै आत्मनिर्भरता हासिल गर्नका लागि बजारमा सीप, शरणार्थी हस्तकला र अन्य उत्पादनबीचको सम्बन्ध बलियो बनाउनमा ध्यान केन्द्रित गरिरहेका छौं । हामीले पाएको उत्कृष्ट सरकारी सहयोगको अतिरिक्त, हामीले नागरिक समाज, निजी क्षेत्र, संयुक्त राष्ट्रसंघका भगिनी संस्थाहरू र शरणार्थीसँग साझेदारी गर्‍यौं । यो शरणार्थी मुद्दालाई सम्बोधन गर्न सहयोग गर्ने यूएनएचसीआरले नेपालमा विकास गरेको साझेदारीको फराकिलो दायरा हो । यूएचएचसीआर नेपालका सबै शरणार्थीले सरकारी कानुनी पहिचान, कागजात र जन्म दर्ता प्राप्त गर्नुपर्छ भन्नेमा सचेत छ । शरणार्थीहरूले सरकारी कागजात हातमा लिएर मात्र नेपाली समाजको हिस्सा महसुस गर्न र योगदान गर्न सक्छन् ।

Page 3
समाचार

बाल मन्दिरमा बृहस्पति स्कुल सञ्चालन गर्न दिने सम्झौता खारेज

- मातृका दाहाल

(काठमाडौं)
नेपाल बाल संगठनको स्वामित्वमा रहेको नक्सालस्थित बाल मन्दिरको जग्गा कौडीको भाउमा निजी शैक्षिक संस्था बृहस्पति विद्या सदन (विद्यालय) लाई लिजमा दिने गरी भएको विवादित सम्झौता खारेज भएको छ । संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता शुक्रबार खारेज भएको हो । यो निर्णयसँगै बाल मन्दिर परिसरमा रहेको बृहस्पतिको संरचना पनि त्यहाँबाट हटाइने भएको छ ।
बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले बृहस्पतिसँग भएको लिज सम्झौता बदनियतपूर्ण र आर्थिक चलखेलका आधारमा भएको यथेष्ट तथ्य र प्रमाण भेटिएपछि खारेज गरिएको बताइन् । ‘२०४९ सालदेखि नै बृहस्पति विद्या सदनलाई संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी र केही शक्ति केन्द्रको दबाब–प्रभावमा भित्र्याइएको देखिन्छ, सुरुमा थोरै जग्गा लिजमा लिएर छिरेको बृहस्पतिले संगठनका पदाधिकारी र कर्मचारीकै मिलेमतोमा बिस्तारै जग्गा हत्याउँदै २९ रोपनीभन्दा बढीमा कब्जा जमाइरहेको छ,’ अध्यक्ष न्यौपानेले कान्तिपुरसँग भनिन्, ‘बृहस्पतिसँग विगतमा गरेको लिज सम्झौता विधि, प्रक्रिया, कानुन कुनै पनि हिसाबले सही देखिएन । त्यसैले यो सबै प्रक्रिया रद्द गरिएको हो ।’ अध्यक्ष न्यौपानेले बृहस्पतिसँगको लिज सम्झौता कुन मितिबाट लागू हुने भन्ने विषय छिट्टै संगठनको अर्को बैठक डाकेर निर्णय लिइने बताइन् । २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा रीता सिंह वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गामा बृहस्पतिले रजगज गरेको देखिएको हो । पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी उनै वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएकी थिइन् ।
बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको थियो । २०४८ को आम निर्वाचनपछि बनेको सरकारले रीता सिंह वैद्यलाई संगठनको अध्यक्ष नियुक्ति गर्‍यो । वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् । वैद्य संगठनमा छिरेसँगै बृहस्पति विद्या सदन पनि बाल मन्दिरमा भित्रिएको हो ।
कतिसम्म भने बाल मन्दिरको जग्गा बृहस्पतिलाई भाडामा दिँदा प्रतिस्पर्धा नै गराइएन । विभिन्न चरणका लिज सम्झौताअनुसार ३० वर्षे सम्झौता हुँदा प्रत्येक २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि हुने तर सुरु र अन्तिम ५/५ वर्ष बढेको भाडा तिर्नु नपर्ने उल्लेख थियो । सम्झौताको म्याद २०८८ सालसम्म थियो । तर, म्याद सकिन १६ वर्ष अगावै २०७२ जेठ २१ मा संगठनले प्रतिवर्ग फिट ६ रुपैयाँ कायम गरी बाल मन्दिरको २९ रोपनी ४ आना बृहस्पतिलाई भाडामा दिने सम्झौता गरियो । २०८८ पछि गणना हुने गरी थप ४३ वर्ष बृहस्पतिलाई नै सुम्पिन संगठनले त्यही मितिमा रहस्यमय ढंगले पूरक सम्झौता गरेको थियो ।
संगठनबाट लिएको जग्गामध्ये ५ रोपनी जग्गा बृहस्पतिले २०७६ कात्तिक १ मा भारतीय बोर्डबाट सञ्चालित राय स्कुललाई ५० वर्षका लागि सव लिजमा लगायो । यसबापत बृहस्पतिले उक्त स्कुलबाट ६० लाख रुपैयाँ वार्षिक भाडा असुल्दै आएको छ । जबकि बृहस्पतिले २९ रोपनीको वार्षिक भाडा ९० लाख मात्रै तिर्दै आएको थियो । ‘यो सबै निर्णय तत्कालीन पदाधिकारी र कर्मचारीहरूको मनोमानी र गैरकानुनी कामबाट भएको देखिन्छ, त्यसैले हामी यो लिज सम्झौतालाई तोड्नुपर्छ भन्ने निष्कर्षमा पुगेर निर्णय गरेका हौं,’ हालकी अध्यक्ष न्यौपानेले भनिन् । बृहस्पति र राय स्कुल अहिले एउटै व्यवस्थापनबाट सञ्चालन भइरहेको छ । बाल मन्दिरको चल अचल सम्पत्ति दोहन भएको भेटिएपछि सरकारले २०७६ कात्तिकमा पूर्वन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको थियो । त्यही आयोगको सिफारिसमा वैद्यसहितको कार्यसमिति भंग भएको थियो ।
आयोगले २०४९ बाटै तत्कालीन कार्यसमितिका पदाधिकारी, सदस्य र कर्मचारीको मिलेमतोमा बाल संगठनको सम्पत्ति दोहन गरेर व्यक्तिको भोगाधिकारमा लगिएको निष्कर्ष निकाल्दै गैरकानुनी निर्णय प्रक्रियामा सामेल भएका माथि कारबाही गर्नुपर्ने सुझाव दिएको थियो । प्रतिवेदनका आधारमा हाल यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेका छन् । अनुसन्धान चलिरहेका बेला संगठनले बृहस्पतिसँगको लिज सम्झौता भंग गर्ने निर्णय लिएको हो । आयोगको सिफारिसपछि वैद्यको कार्यसमिति भंग भएर २०७७ साउनबाट तदर्थ समिति अध्यक्षमा विद्या न्यौपाने आएकी थिइन् । उनी आएपछि नै यसको विस्तृत खोजबिन र छानबिन एवं अनुसन्धानको काम अघि बढेको थियो ।
बाल संगठनले २०४९ वैशाख २६ मा बृहस्पतिसँग संगठनका नाममा रहेको कित्ता नम्बर ७६० को ९ रोपनी जग्गा र घर/टहरा २०५३ माघ १० सम्म भाडामा दिने सम्झौता गरेको थियो । यो निर्णय हुँदा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र शेरबहादुर देउवा गृहमन्त्री थिए । त्यसको वार्षिक भाडा दर ४२ लाख १६ हजार ६ सय ८ रुपैयाँ कायम गरिएको थियो । अग्रिम भुक्तानी दिए भाडा रकममा २० प्रतिशत छुट दिने अतिरिक्त बुँदासमेत सम्झौतामा घुसाइयो । तर, बृहस्पतिले कहिले कति रकम कुन माध्यमबाट भाडामा दियो भन्ने अभिलेख नै गोलमोटल रहेको र आर्थिक हिनामिना गर्ने नियतका साथ यो प्रपञ्च रचिएको संगठनकै अर्का एक अधिकारीको दाबी छ । ९ वर्षपछि बाल संगठनले २०५८ जेठ ८ मा थप ५ रोपनी २ आना जग्गा यसअघि तोकिएको वार्षिक भाडामा १० प्रतिशत वृद्धि गर्दै पूरक सम्झौतामार्फत बृहस्पतिलाई दिएको थियो । जबकि बृहस्पतिले २०५७ माघ ६ मा बाल संगठनलाई पत्र पठाउँदै थप २ रोपनी जग्गा मात्र मागेकामा मागेभन्दा बढी जग्गा अस्वाभाविक रूपमा सुम्पिइयो । पूरक सम्झौतामा संगठनका तर्फबाट तत्कालीन निर्देशक राजेश्वर निरौलाले हस्ताक्षर गरेका थिए । मागेको भन्दा बढी जग्गा दिएबापत बाल संगठनका पदाधिकारीले बृहस्पतिसँग अपारदर्शी लेनदेन गरेको पनि देखिएको अनुसन्धानमा संलग्न प्रहरी र अख्तियार स्रोतको भनाइ छ ।
त्यसबेला बृहस्पतिले भोगचलन गरिरहेको जग्गाको वार्षिक भाडा ३० लाख थियो । बृहस्पतिले २०५९ साउन २१ मा थप १३ रोपनी जग्गा लिन भाडा अवधि ३० वर्ष र मासिक भाडा दर ४ लाख ८० हजार हुने गरी बाल संगठनलाई प्रस्ताव गर्‍यो । साउन ३० मै बसेको बाल संगठनको केन्द्रीय समिति बैठकले महासचिव रामकाजी कोनेलाई कित्ता नम्बर ७६० अन्तर्गतको १३ रोपनी १२ आना १ पैसा क्षेत्रफलको जग्गा २०८८ सम्मका लागि बृहस्पतिलाई भाडामा दिने गरी सम्झौता गर्न अधिकार दियो । यो निर्णय हुँदा हाल कांग्रेस सभापति रहेका शेरबहादुर देउवा प्रधानमन्त्री थिए । वैद्य संगठनको अध्यक्ष थिइन् । यो पटक पनि बृहस्पतिले मागेभन्दा १२ आना १ पैसा बढी जग्गा दिइएको थियो । बृहस्पतिको प्रस्तावअनुसार २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि गर्ने, पहिलो र अन्तिम ५ वर्षमा भाडा वृद्धि नगर्ने र १५ वर्षभित्रमा ५ करोडको सम्पत्ति अभिवृद्धि गर्ने गरी सम्झौता गरियो । सोही आधारमा २०५९ भदौ ११ मा संगठन र बृहस्पतिबीच ३० वर्षका लागि सम्झौता भएको थियो ।

समाचार

धरौटीमा रिहा भएका दीपेश सीआईबीको‘निगरानी’ मा

- घनश्याम गौतम

(बुटवल)
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा कारागार चलान भएका दीपेशकुमार पुन शुक्रबार धरौटी बुझाएर रिहा भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निगरानीमा परेका छन् । उनलाई वैशाख ७ मा जिल्ला अदालतले ४ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय महासचिवसमेत रहेका उनी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । सुन प्रकरणमा पनि जोडिएका उनलाई धरौटीमा रिहाइ हुनासाथ सीआईबीले निगरानीमा राखेको हो ।
जिल्ला कारागार भैरहवाबाट छुटेलगत्तै इलाका प्रहरी कार्यालय बुटवल पुर्‍याइएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई केही समय त्यहाँ राखे पनि सीआईबीको सल्लाहमै तत्कालका लागि निगरानीमा राख्ने गरी छोडिएको हो । ‘इलाका प्रहरी कार्यालयमा उनी आफैंले सीआईबीमा सम्पर्क गर्ने बताएका छन्,’ स्रोतले भन्यो, ‘उनले आफैं सीआईबी जान्छु भनेपछि प्रहरीले निगरानी राख्ने गरी उनलाई छोडेको हो ।’ सुन प्रकरणमा जोडिएकाले केही दिनभित्रै बयानका लागि सीआईबीले बोलाउने तयारी गरिरहेको एक प्रहरी अधिकृतले बताए । उनी अदालतको फैसला आएकै दिन वैशाख ७ मै धरौटी बुझाएर छुट्ने तयारी गरेका थिए । तर, तत्कालै सीआईबीले पक्राउ गर्न सक्ने सूचना पाएपछि धरौटी नबुझाई कारागार चलान भएका हुन् । उनीसँगै धरौटीमा छुट्ने आदेश पाएका सुप्रिमका कर्मचारी र व्यवस्थापकसहित ५ जना भने अघिल्लो शुक्रबार नै धरौटी बुझाएर छुटेका थिए ।
ब्युरोका प्रमुख एआईजी श्याम ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेको र उनको ‘लिंक’ देखिएको अवस्थामा पक्राउ पर्न सक्ने बताए । ‘सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा पुनको विषय उल्लेख देखिन्छ,’ उनले भने, ‘त्यसकै आधारमा अनुसन्धान जारी छ, आवश्यकताअनुसारका व्यक्ति निगरानीमै छन् ।’ ब्युरोका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले पनि उनलाई अहिले पक्राउ नगरिए पनि बयानका लागि उपयुक्त समयमा बोलाइने बताए । आयोगले पुनको सन्दर्भमा ब्युरोले पर्याप्त अनुसन्धान नगरी बयान कागज मात्र गराएर छाडेको विषय औंल्याइएको छ ।
सुप्रिम सहकारीमा नियमित बचत गरेको सर्वसाधारणको १ अर्ब ३१ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएको प्रहरी अनुसन्धानले देखाएको छ । रकम अपचलन गर्नेमा सहकारीका संस्थापक अध्यक्ष एवं हालका संरक्षक रहेका गितेन्द्रबाबु (जीबी) राई, पूर्वसचिव रहेका पुनसहित २८ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेर थुनामा रहेका मध्ये ६ जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
अन्य सबै धरौटी बुझाएर रिहा भइसकेका छन् । अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्र कारागार चलान गरेको छ । १ हजार ८ सय ३१ जनाले सञ्चालकविरुद्ध उजुरी गरेका थिए । सहकारी समस्यामा परेपछि उनले २०७९ मंसिर २४ गते सचिव पदबाट राजीनामा दिएका थिए ।

Page 4
युवा ग्यालरी

घानाका प्रथम राष्ट्रपतिको निधन


सन् १९७२ मा आजकै दिन (अप्रिल २७) मा घानाका प्रथम राष्ट्रपति क्वामे एन्क्रुमाहको निधन भएको थियो । उनको क्यान्सरको उपचारका क्रममा रोमानियाको बुखारेस्टमा निधन भएको थियो ।
१९०९ सेप्टेम्बर २१ मा जन्मिएका क्वामे घानाका राजनीतिज्ञका साथै राजनीतिक सिद्धान्तकार तथा क्रान्तिकारी हुन् । असंलग्न आन्दोलन र अर्गनाइजेसन अफ अफ्रिकन युनिटीका संस्थापक क्वामे सोभियत युनियनको लेनिन शान्ति पुरस्कार विजेतासमेत हुन् ।
क्वामे १९५२ देखि १९५७ सम्म गोल्ड क्वेस्ट (हाल घाना) को प्रधानमन्त्री बनेका थिए । बेलायतबाट घाना स्वतन्त्र भएसँगै १९५७ मार्च ६ मा प्रधानमन्त्री बनेका क्वामे १९६० जुलाई १ सम्म पदमा थिए । त्यसपछि उनी १९६० जुलाई १ मा घानाको प्रथम राष्ट्रपति बनेका थिए । क्वामे १९६६ फेब्रुअरी २४ मा ‘कु’ मार्फत अपदस्थ हुनुअघिसम्म घानाको राष्ट्रपति थिए । उनी चीन भ्रमणमा रहेका बेला घानाको सेना र प्रहरीले सत्ता कब्जा गरेको थियो । त्यसपछि पश्चिम अफ्रिका फर्केका उनले गिनीमा निर्वासित जीवन बिताएका थिए ।

युवा ग्यालरी

चिया चखाउँदै “लेडिबग”

- पर्वत पोर्तेल

(इलाम)
इलामको चोक बजार नपुग्दै नवीन चोक जोड्ने बाटोको घुम्तीमै छ, हरि गुरुङको इलाम टि हाउस । खासमा उनको त्यो पसलमा दर्जनौं स्वाद र जातका चिया बिक्रीमा छन् । त्यहाँ पुग्ने ग्राहक हुन् या पाहुना, चिया नचखाई उनी हतपत पठाउँदैनन् । टि हाउसभित्र छ, काठको मुढा चिल्याएर बनाएको टेबल । टेबल वरिपरि चार–पाँच थान स्टुल । त्यही टुलमा पाहुनालाई राखेर चखाउँछन् सुगन्धित चियाको स्वाद । स्वाद चाख्न स्वदेशी मात्रै हैन, विदेशी पर्यटक पनि बाक्लै आउजाउ गर्छन् । कहिले चीन त कहिले जापानबाट आएका पाहुनालाई स्वादिलो चिया नचखाउने त कुरै भएन । चिया मन पराउनेले विदेश फर्किएपछि पनि सम्पर्क गर्छन् र चिया पठाइदिन भन्छन् ।
सन् २००९ मा मलेसियाबाट फर्किएका हुन् हरि । एक दशकपछि गाउँ फर्किएका उनले आफ्नै पौरख देखाउन थाले । मलेसियाबाट फर्किएपछि के गर्ने ? फेरि उतै जाने कि गाउँमै केही गर्ने ? उनलाई अन्योल नभएको हैन । तर, उनको भित्री मनले भन्यो, ‘गाउँमै बस् केटा ।’ गाउँमा त बस्ने तर के गरेर बस्ने ? मलेसियामा जोडेको थोरै जेथा केमा लगानी गर्ने ? पुनः उनमा द्विविधा जन्मियो । त्यसलाई भने चाँडै चिरे । र, अर्को वर्ष सुरु गरे, इलाम टि हाउस । खासमा चियासँग गुरुङ परिवारको गाढा सम्बन्ध छ । हरि पाँचौं पुस्ता हुन्, जसको चियासँग प्रत्यक्ष साइनो गाँसिएको छ ।
‘बाजेबराजुका पालादेखि सबै परिवार चियासँग जोडिएका छौं,’ ब्ल्याक टिको एक सुर्को तानेपछि हरिले सुनाए, ‘चियासँगको लामो लिगेसीबाट बाहिर उम्किन मुस्किल भयो ।’ उनलाई लाग्छ, चिया उनको जिनमै छ । यसको स्वाद नसानसामा दौडिरहेको छ । जसरी हाम्रो शरीरमा दौडिन्छ रगत । ‘चिया प्यासन थियो, यसलाई प्रोफेसनमा ढालियो,’ चिटिक्कको
किट्लीबाट कपमा चिया खन्याएपछि उनी बोले, ‘चिया हाम्रो मौलिक संस्कृति बनिसक्यो ।’
चिया व्यापार गर्ने निधो त गरे । तर, चियाका भेराइटीबारे उनी बेखबर थिए । उनले सुरुमा चिनेको चिया ब्ल्याक, लिफ्ट र सीटीसी मात्रै थियो । तर, चियाको पोखरीमा पौडिन थाले, बल्ल चाल पाए चिया त पौडिनै नसकिने समुद्र पो रहेछ । ‘गहिराइमा डुब्दै जाँदा चियाबारे धेरै ज्ञान मिल्यो,’ उनी सुनाउँछन्, ‘खासमा चिया मेरा लागि विश्वविद्यालय पनि
हो ।’ नेपालमा पहिलो पटक चिया इलाममै रोपिएको थियो । विसं १९२० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा
चीन भ्रमणमा गएका बेला चिनियाँ समकक्षीले चियाको
बिरुवा उपहार दिएको इतिहासमा उल्लेख छ । जंगबहादुरले
त्यो चिया रोप्ने आदेश तत्कालीन बडाहाकिम जंगबहादुरकै ज्वाइँ गजराजसिंह थापालाई दिए । अनि नेपालमा चिया खेती आरम्भ भयो ।
बडाहाकिमले रोपेको चिया गोडमेल गर्ने कामचाहिँ हरिका जिजुबाजेले गरेका थिए, जो सेनाका सुवेदार थिए । उनैको निगरानीमा चिया बगान फस्टाएको थियो । जिजुबाजेपछि बाजे, आमा, बा सबै चियामै जोडिए । वर्षौंदेखि चियाको बोटमै लुकामारी खेल्दै आए । ‘जिजुबाजे, बाजेदेखि बुबाआमा अहिले बहिनी पनि चियामै संलग्न छन्,’ हरिले सुनाए, ‘चिया हाम्रो नसानसामा छ भन्दा पनि हुन्छ ।’ पछिल्लो समय भने हरि आफ्नै ट्रेडमार्कमा चिया बिक्री गर्छन् । ‘लेडिबग’ नामको ट्रेडमार्क पूर्वमा चर्चित मानिन्छ ।
यो स्वादिलो चियाको ट्रेडमार्क दर्ताको कथा भने साह्रै बेस्वादिलो छ । ट्रेडमार्क दर्ता गर्न उनलाई ‘महाभारत’ भयो । उद्योग तथा वाणिज्य मन्त्रालयमा ट्रेडमार्क दर्ता गर्न निकै पटक धाउनुपर्‍यो । दर्जनौं पटक त उनले ट्रेडमार्कका लागि नाम भिडाउन पठाए । ‘सबैले ट्रेडमार्कको नाम दर्ता गरेर राखेका हुँदा रहेछन्,’ उनले त्यो भोगाइ सुनाए, ‘दुई दर्जन बढी नाम भिडाउँदा पनि अर्कोसँग जुध्ने समस्या भयो ।’ नाम भिडाउँदा–भिडाउँदा थाकेर हैरान भएका उनले एक दिन सामाजिक सञ्जालमा कसैले रातो टिकटिके किराबारे पोस्ट गरेको देखे । उनले देखिरहेको त्यो रातो किराको अंग्रेजी नाम हो, लेडिबग ।
इन्टरनेटमा खोज्दै जाँदा लेडिबगका अनेकौं गुण पत्ता लगाए । यसले त वनस्पतिलाई मास्ने किराको सिकारी किरा पो रहेछ । इन्टरनेटका अनुसार एउटा वयस्क लेडिबगले आफ्नो जीवनकालमा करिब ५० हजार किराको सिकार गर्छ । अर्थात् प्रकृतिको कुचिकार किराबारे थाहा पाएपछि उनले चियाको ट्रेडमार्कको न्वारान गरे, ‘लेडिबग’ । ‘ट्रेडमार्क दर्ता सुरु गरेको करिब दुई वर्षपछि लेडिबग औपचारिक रूपमा दर्ता भयो,’ हरिले भने, ‘धन्न योचाहिँ अरूले दर्ता नगरेको नाम परेछ । भिडाउँदा नाम जुधेन । फेरि नाम पनि क्याची सुनियो ।’
टि हाउसमा न्यूनतम प्रतिकिलो ७ सयदेखि १२ हजार रुपैयाँसम्मको चिया पाइन्छ । उनको आफ्नै कारखाना त छैन । अरूको कारखानाले उत्पादन गरेका गुणस्तरीय चियालाई उनी आफ्नो ट्रेडमार्कमार्फत बजारीकरण गर्छन् । स्वदेशमा त खपत हुन्छ नै, भारत तथा तेस्रो देश पनि प्रशस्तै निर्यात गरेर मनग्ये आम्दानी गर्छन् । खासगरी जापान, क्यानडा, फिलिपिन्स, अस्ट्रेलियाजस्ता देशहरूले चिया मगाउँछन्, उनी प्रक्रिया पूरा गरेर निर्यात गर्छन् ।
इलामको भूबनोट छिमेकी दार्जिलिङको जस्तै छ । नागबेली बाटो, चिसो वातावरण अनि पहाडी भूगोल, ठ्याक्कै दार्जिलिङजस्तै छ इलाम । भूगोल मात्रै हैन, इलाम र दार्जिलिङमा उत्पादित कृषि उपजको स्वाद पनि उस्तै लाग्छ । हरेक उत्पादन अर्ग्यानिक अनि मीठो । ‘त्यसैले भारत निर्यात भएको नेपाली चियालाई भारतीयले दार्जिलिङ ब्राण्डका नाममा तेस्रो देश पठाएर मनग्ये आम्दानी गरिरहेका छन्,’ चियाबारे निकै जानकार हरिले हिमालय सांग्रिलाको ब्ल्याक टिको अन्तिम सुर्को तानेपछि सुनाए, ‘हाम्रो चिया दार्जिलिङ ब्राण्ड बनाएर भारतले तेस्रो देशमा निर्यातबाट डलर आर्जन गरिरहेको छ, हामी बेखबर छौं ।’

युवा ग्यालरी

मेयर बालेनले ल्याए कविता संग्रह

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जन्मदिनको अवसर पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा शुक्रबार कविता संग्रहको एक तस्बिर सार्वजनिक गर्दै मेयरले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवादसमेत दिएका छन् ।
यसअघि र्‍याप गायकका रूपमा परिचित बालेनको ‘अश्र’मा एक सयभन्दा बढी कविता छन् । संग्रहको पहिलो खण्डमा प्रेम, दोस्रोमा प्रेम–वियोग, तेस्रोमा राजनीति र चौथोमा दर्शनसम्बन्धी छोटा–छोटा कविता समावेश छन् । कविता संग्रहका हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि समावेश गरिएका छन् । ६६६ रुपैयाँ मूल्यको कविता संग्रह बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । कविता संग्रह शनिबारदेखि बजारमा उपलब्ध हुने बालेनले जनाएका छन् ।

Page 5
अर्थ वाणिज्य

बुद्धचित्त : अस्वस्थ प्रतिस्पर्धाले हिंसा बढ्दै

- ज्योति श्रेष्ठ

(काभ्रे)
असार–साउन नलाग्दै काभ्रेको रोशीमा बुद्धचित्तको मालाको कारोबारको चर्चा सुरु हुन्छ । तर, यस पटक भने चैत महिनामै बुद्धचित्त मालाको चर्चा चर्कियो । कारण, चैत २९ को मध्यराति रोशी गाउँपालिका–५ नागबेलीस्थित शेरबहादुर तामाङको घरमा रहेको बुद्धचित्तको रूख काटियो । यो त्यही रूख थियो, जसमा फलेका बुद्धचित्त वार्षिक ९० लाखमा बेच्न शेरबहादुरले पाँच वर्षका लागि व्यवसायी सत्यमान लामा र समीप त्रिपाठीसँग सम्झौता गरेर अग्रिम ५० लाख रुपैयाँ बुझिसकेका थिए । बाँकी पैसा फल लागिसकेपछि दिने सम्झौता भएको थियो ।
घटनाको दिन शेरबहादुर काठमाडौंमा थिए । रातको २ बजेतिर उनलाई घरबाट फोन आयो । परिवारका सदस्यले त्रसित स्वरमा बुद्धचित्तको रूख काटिएको खबर सुनाए । त्यो रात परिवारका सदस्यले भोगेको घटना सुनाउँदै उनले भने, ‘१२ः३० बजे एउटा समूह आएर गोली पड्काएर घरबाट बाहिर निस्कन नदिई त्रसित बनाएछ । कोही घरबाट बाहिर निस्किए मारिदिने धम्की दिएछन् । १५/२० जनाको समूहमा आएका उनीहरूले रूख काटेर घर वरपर ४ वटा सकेट बम राखी जनमुक्ति सेना लेखेको ज्याकेट राखेर भागेका रहेछन् ।’
यो बुद्धचित्त रूख शेरबहादुरकी आमा ठाकुरानी तामाङको नाममा छ । ठाकुरानीका ४ छोरा छन् । साइँला छोरा शेरबहादुरले बुद्धचित्त मालाको कारोबारको जिम्मेवारी सम्हाल्दै आएका थिए । शेरबहादुरका अनुसार यति बेला बोटमा भर्खरै फूल लाग्दै थियो । शेरबहादुरले गरेको बुद्धचित्तको कारोबार अरू केही व्यवसायीहरूलाई मन परेको थिएन । ‘गएको फागुन २२ मा परिचित व्यवसायीले ‘गेम इच ओभर’ भनेर म्यासेज गरेका थिए,’ शेरबहादुरले भने, ‘यो रूखमा बुद्धचित्त मालाको कारोबारीहरूले आँखा लगाइरहेका थिए, आफूले नपाएपछि बोट नै सिध्याउने कार्य गरे ।’
काभ्रेको रोशी र तेमाल गाउँपालिकाका सयौं स्थानीयको आम्दानीको मुख्य स्रोत बनिरहेको बुद्धचित्तको कारोबार पछिल्ला वर्षमा अपराध, हिंसा र बेमेल बढाउने माध्यम बनिरहेको छ । बुद्धचित्तको बढ्दो मूल्य र यसको कारोबारमा भइरहेका अस्वस्थ प्रतिस्पर्धाले कलह उब्जाइरहेको छ । जस्तो कि, शेरबहादुरले सम्झौता गरेको रूखबाट गत वर्ष मात्रै ३ करोड रुपैयाँ आम्दानी भएको थियो । यसैबाट बुझ्न सकिन्छ, बुद्धचित्तको कारोबार कति ठूलो छ भनेर ।
कैयौं स्थानीयले बुद्धचित्तको चोरी रोक्न सुरक्षा दस्ता नै परिचालन गरिरहेका छन् भने कतिपयले तारजाली वा बेरबार गर्ने र क्लोज सर्किट क्यामेरा राख्ने काम गरिरहेका छन् । तर यतिले मात्रै बुद्धचित्तको सुरक्षा सम्भव भइरहेको देखिन्न । शेरबहादुरसँग बुद्धचित्त किन्ने सम्झौता गरेका समीपले सुनाए, ‘पोहोर जेठको दोस्रो साताबाट सुरक्षा परिचालन गरिएको थियो, फल लाग्ने बेला भएपछि सुरक्षा व्यवस्था कडा पार्ने योजना बनाएका थियौं, फूल फुल्दै गर्दा आपराधिक समूहले बोट नै काटिदिए, यसबाट हामीलाई दुई करोडभन्दा माथिको क्षति भएको छ ।’ यो घटनापछि उनीहरूले रूखको आम्दानीस्वरूप घटनामा संलग्न अपराधीबाट ३० वर्षको आम्दानी रकम र ठेकेदारबाट ५ वर्षको क्षतिपूर्ति रकम दिलाउनुपर्ने माग राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले यो घटनामा ८ जनाविरुद्ध किटानी जाहेरी परे पनि तेमाल गाउँपालिका–६ का ४१ वर्षीय मानबहादुर तामाङ, तेमाल गाउँपालिका–३ का दुर्गालाल तामाङ र रोशी गाउँपालिका–५ का ३६ वर्षीय धीरज भनिने श्यामकृष्ण मैनालीलाई पक्राउ गरिसकेको छ । ‘प्रारम्भिक सोधपुछ, पुराना घटनाहरू हेरेर पनि अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले भनिन् । घटनाबारे जिल्लास्तरीय सुरक्षा समितिको बैठकमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । भनिन्, ‘कतिपय अवस्थामा बुद्धचित्त धनीले गाउँपालिकामा शान्तिसुरक्षाका लागि निवेदन दिएपछि पनि प्रहरी परिचालन गर्ने गरिएको छ ।’
बुद्धचित्तले कलह निम्त्याएको यो पहिलो घटना भने होइन । ०७७ असार ११ को राति सवा ११ बजे एउटा समूहले नागबेलीस्थित शेरबहादुरकै घरबाट गोली चलाएर बुद्धचित्त लुटपाट गरेको थियो । प्रहरीका अनुसार त्यति बेला सीसी क्यामेरासमेत तोडेर ९० लाख रुपैयाँ बराबरको बुद्धचित्तको माला लुटिएको थियो । यो काममा कम्तीमा २० जनाको समूहको परिचालन रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो । यस घटनामा प्रहरीले रोशी गाउँपालिका–६ का काले भनिने राधाकृष्ण मैनालीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको आदेशले ०७७ असोज २७ मा जनही २ लाख रुपैयाँको धरौटी राखी तारिखमा छुटेका छन् । यो मुद्दामा अदालतबाट फैसला भइसकेको छैन । यस घटनामा संलग्न अन्य ९ जना अझै पनि प्रहरीको फरार सूचीमा छन् । ०७७ सालयता जिल्ला प्रहरीमा बुद्धचित्त कारोबारसँग सम्बन्धित दुई वटा मुद्दा दर्ता भएको देखिन्छ । बुद्धचित्तको कारोबारमा अस्वस्थ प्रतिस्पर्धाका कारण वर्षैपिच्छे मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत काभ्रेका स्रेस्तेदार कर्णबहादुर राईको भनाइ छ । ०७४ सालयता काभ्रे जिल्ला अदालतमा बुद्धचित्त मालासम्बन्धी १४ वटा मुद्दाहरू दर्ता भएको देखिन्छ । ०७४ मा १, ०७६ मा १, ०७७ मा २, ०७८ मा २, ०७९ मा ४ र ०८० सालमा ४ वटा मुद्दा दर्ता भएका हुन् ।
प्रहरी र अदालतका अलावा स्थानीय तहका न्यायिक समितिमा पनि बुद्धचित्तसँग सम्बन्धित मुद्दा पुग्न
थालेका छन् । ०७९ यता रोशी गाउँपालिकाको न्यायिक समितिमा बुद्धचित्तसँग सम्बन्धित ६ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ४ वटा फर्छ्योट भइसकेको र २ वटा बाँकी रहेको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक मिमबहादुर वाइबाले बताए । ‘समितिमा बुद्धचित्तको रूख, जग्गा, साँध–सिमाना, बुद्धचित्त माला कारोबार सम्झौता उल्लंघनलगायत विषयका मुद्दा दर्ता भएका छन्,’ उनले भने ।
बुद्धचित्त मालाको कारोबार सम्झौता र त्यसको उल्लंघनका विषयमा धेरै विवाद भएपछि पालिकाले बुद्धचित्तको कारोबार नियमन गर्न ०७६ मा कार्यविधि बनाएको थियो । यसलाई आर्थिक वर्ष ०८०/८१ मा ‘बुद्धचित्त फल दाना बिक्री तथा व्यवस्थापन कार्यविधि ०८०’ संशोधन गरिएको थियो । कार्यविधिअनुसार नै बुद्धचित्त फल दाना बिक्री तथा व्यवस्थापनका लागि जिल्लास्थित सुरक्षा निकायको समन्वयमा सुरक्षा र संरक्षण गर्ने गरिएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । कार्यविधिको कार्यान्वयनपछि विवाद अलि कम भएको थियो । तर, चैत २९ गते अकल्पनीय घटना घट्यो ।
तेमाल गाउँपालिकाका उपाध्यक्ष एवं पालिकाको न्यायिक समितिका संयोजक दलमान थोकरले भने काभ्रेको तेमाल गाउँपालिकामा बुद्धचित्त मालाको विषयलाई लिएर ठूला विवाद र अपारधजन्य गतिविधिहरू नभएको दाबी गरे । पालिकाको न्यायिक समितिमा आफूले जिम्मेवारी सम्हालेयता बुद्धचित्त मालाको विषयमा कुनै पनि मुद्दा दर्ता नभएको उनको भनाइ छ ।

अर्थ वाणिज्य

काठमाडौं–रक्सौल रेलमार्गको फाइनल रिपोर्ट तयारीमा अलमल

- विमल खतिवडा

(काठमाडौं)
काठमाडौं–रक्सौल रेलमार्गको फिल्ड सर्भेको काम सकिएको एक वर्ष पुग्न लाग्दा फाइनल रिपोर्ट अझै तयार हुन सकेको छैन । भारतको कोंकण रेलवे कर्पोरेसनको प्राविधिक टोलीले २२ महिना लगाएर तयार पारेको फिल्ड सर्भेको प्रतिवेदन ०८० असारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको थियो । उक्त रिपोर्टमा केही थप गर्नुपरे थपघट गरेर मन्त्रालयले कोंकणलाई फाइनल गर्ने गरी पठाउनुपर्ने हो । अहिलेसम्म रिपोर्टबारे कुनै छलफल भएको छैन । सर्भे रिपोर्ट मन्त्रालयमा थन्किएर बसेको छ ।
मन्त्री, सचिव र सम्बन्धित विभागीय प्रमुख फेरिरहँदा त्यसको असर रिपोर्टको काममा परेको मन्त्रालय स्रोतले जनायो । ‘अन्य आयोजनाको रिपोर्ट भए यो बेलासम्म फाइनल भइसक्थ्यो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘रेल कहिले बन्ने हो, तुरुन्तै रिपोर्ट किन चाहियो भनेर भनेर पनि ढिला गरिएको हुन सक्छ ।’ फाइनल रिपोर्ट तयार पार्न मन्त्रालयले अलमल गरिरहेको छ । मन्त्रालयले सानो समिति बनाएर त्यसको रिपोर्ट दिने भनिएको थियो । समितिमा भौतिक मन्त्रालयको निर्माण महाशाखा हेर्ने सहसचिवको संयोजकत्वमा रेल विभागका महानिर्देशक, मन्त्रालयका एक इन्जिनियर र विभागका दुई इन्जिनियरको प्रतिनिधित्व छ ।
समितिले अहिलेसम्म अध्ययन टुंग्याउने गरी काम गरेको छैन । ‘के–के थप्ने हामीले लेखी पठाउने हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘त्यो थपेर पठाएपछि भारतले फाइनल रिपोर्ट पठाउँछ । अहिले हाम्रै कारणले ढिला भइरहेको छ ।’ यो फाइनल भएर आउँदा निर्माणमै जान सकिने ती कर्मचारीको भनाइ छ । ईपीसी, टन्की, जीटूजीमार्फत निर्माणमा जाने भए यही अध्ययनले काम गर्ने रेल विभागले जनायो । नेपाल सरकारकै लगानीमा निर्माणमा जान सक्ने स्थिति भने छैन ।
सर्भेअनुसार रेलमार्ग निर्माणका लागि ४ खर्ब रुपैयाँ लाग्छ । यो मुआब्जाबाहेकको रकम हो । मुआब्जाका लागि थप ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । फाइनल सर्भेअनुसार यसको दूरी १४०.७९ किमि हुनेछ । यसमा ४२ किमिका ३२ वटा सुरुङ रहनेछन् । १२४ वटा ठूला पुल र १२ वटा स्टेसन निर्माण गरिनेछ । अहिलेको दूरी रक्सौलस्थित ४ किमि भारततर्फबाट सुरु भई ललितपुरको खोकनासम्म आउनेछ । रेलमार्गले पर्सा, रौतहट, बारा, मकवानपुर, ललितपुर र काठमाडौंलाई छुनेछ, जुन जिल्लाहरूमा पर्ने १५ सय हेक्टर क्षेत्रफल जग्गा रेलमार्ग निर्माणमा प्रयोग हुनेछ ।

ठेक्का भएको मितिबाट निर्माण अवधि ५ वर्षको रहनेछ । ०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको थियो । फाइनल सर्भे रिपोर्ट मन्त्रालयमा बुझाएपछि
यसमा थप प्रगति नभएको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए ।
कोंकणले बुझाएको फिल्ड सर्भे रिपोर्टमाथि छलफलको तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता उमेशबिन्दु श्रेष्ठले जनाए । ‘फाइनल सर्भे रिपोर्टमाथि अन्तिम प्रतिक्रिया दिने तयारीमा छौं,’ उनले भने, ‘त्यसपछि कोंकणलाई पठाउने र फाइनल भएर आएपछि फेरि हेरेर यसलाई अन्तिम रूप दिन्छौं ।’
काठमाडौं–केरुङ रेलमार्गको भने पहिलो चरणको प्रारम्भिक अध्ययन सकेर दोस्रो चरणको अध्ययनको
काम जारी छ । प्रारम्भिक अध्ययनको काम सक्न एक वर्ष लागेको
हो । सम्भाव्यता अध्ययनलाई अन्तिम रूप दिने गरी काम थालिएको हो । चिनियाँ प्राविधिक टोलीले काठमाडौं, नुवाकोट र रसुवामा पुगेर दोस्रो चरणको अध्ययनको काम गरिरहेको छ । दोस्रो चरणमा भौगर्भिक अध्ययनको काम सुरु भएको हो ।
नुवाकोटमा कार्यालय स्थापना गरेर चिनियाँ प्राविधिक टोलीले अध्ययनको काम गरिरहेको छ । ‘यसअघि पूर्वसम्भाव्यता अध्ययनको काम भयो,’ रेल विभागका महानिर्देशक बिसुरालले भने, ‘अहिले सम्भाव्यता अध्ययनअन्तर्गत कहाँ पहिरो खस्ने समस्या छ । कहाँ जमिन कमजोर छ भनेर हेर्ने काम हुँदै छ ।’ पूर्वसम्भाव्यता अध्ययनका क्रममा ड्रोनबाट त्यस्ता ठाउँको पहिचान गरी थप अध्ययनको काम अहिले भइरहेको उनले बताए । विभिन्न ठाउँमा बोरिङ गरेर जमिनको अवस्था हेरिनेछ । काठमाडौंदेखि केरुङसम्म नै यसरी अध्ययन हुने उनको भनाइ छ । तेस्रो चरणमा चिनियाँ प्राविधिकले रिपोर्ट तयार पारेर बुझाउनेछन् । त्यही बेलामा नेपाल सरकारले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट बनाएर दिनुपर्ने बिसुरालले सुनाए ।
रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुस तेस्रो साता चिनियाँ टोली नेपाल आएको थियो । यसको अध्ययन ४२ महिनाभित्र सक्नुपर्ने भए पनि अब २८ महिना मात्र बाँकी छ । तोकिएकै समयभित्र सक्ने गरी काम भइरहेको महानिर्देशक बिसुरालको भनाइ छ । यो सम्भाव्यता अध्ययन भएकाले यसबाट निर्माणमा लाग्ने लागत, समय र रेलमार्गको कुल दूरी थाहा हुनेछ । सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कतिवटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्ने हो, त्यो पनि थाहा हुनेछ । यसमा छुट्टै विस्तृत सर्भे नगरिने र निर्माणका क्रममा विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पारेर काम अघि बढाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा थालेको हो ।
रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्मको मार्गको दूरी ७२ किमि रहनेछ । ०७८ चैतमा सम्भाव्यता अध्ययन गर्ने विषयमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

 

Page 6
अर्थ वाणिज्य

झुक्किएर मोबाइलमा २५ हजार रुपैयाँसम्म टपअप

- सजना बराल

(काठमाडौं)
पछिल्लो समय डिजिटल भुक्तानी सहज भएयता सीतापाइलाकी रश्मि थापाले नगद बोक्न छोडेकी छन् । तर अनलाइनबाटै पैसा तिर्दा कहिलेकाहीँ अनौठा समस्या आइपरेको उनको अनुभव छ । अघिल्लो महिना दुई सिलिन्डर खाना पकाउने ग्यास घर ल्याएपछि उनले पसले साहुजीको मोबाइल वालेटमा ४ हजार रुपैयाँ पठाइदिइन्, उनको खाताबाट तुरुन्तै पैसा काटियो । वालेटबाट एकाबिहानै पठाएको पैसा साँझसम्म पनि साहुजीको खातामा जम्मा भएन । भोलिपल्ट दिउँसो वालेट कम्पनीमा फोन गरेर साफ थर्काइन् । कुरा बुझ्दै जाँदा के पत्ता लाग्यो भने वालेट टपअप (वालेट खातामा रकम जम्मा गर्नु) को सट्टा उनले साहुजीको मोबाइलमा टपअप (ब्यालेन्स रिचार्ज) गरिदिइछन् ।
‘मैले त फन्ड ट्रान्सफर भन्ठानेर ब्यालेन्स टपअप पो गरेछु,’ रश्मि लजाउँदै भन्छिन्, ‘वालेट कम्पनीका भाइलाई गालीसमेत गरें । पछि साह्रै लाज लागेर उनलाई सरी भनें । पसले दाइको मोबाइलमा पहिले नै १५ सय रुपैयाँ ब्यालेन्स रहेछ । मैले ४ हजार थपिदिएपछि त्यत्रो ५५ सय रुपैयाँ के गर्ने भनेर उनले फेरि मलाई थर्काए । त्यो दिनदेखि टपअप र सेन्ड मनीको अप्सन दसचोटि हेरेर मात्रै पेमेन्ट गर्ने गरेकी छु ।’ आफ्नै हुस्सुपनले समस्या भएपछि रश्मिले साहुजीको मोबाइलबाट ४ हजार ब्यालेन्स पुनः आफ्नै मोबाइलमा ट्रान्सफर गर्न लगाई ग्यासको पैसा नगदमै दिएको अनुभव सुनाइन् । उनका अनुसार टेलिकम र वालेट कम्पनी दुवैले एक पटक टपअप भइसकेको ब्यालेन्स फिर्ता गर्न नमिल्ने बताएका थिए ।
दुई वर्षअघि सामाजिक सञ्जाल प्लाटफर्म रेडिटमा ‘भी फर भेन्डेट्टा’ युजरनेम भएका प्रयोगकर्ताले पनि आफ्नै एनसेल नम्बरमा भूलवश ४५ सय रुपैयाँ टपअप गरेको र त्यो फिर्ता नहुने भएपछि ५० र १०० रुपैयाँ गर्दै अन्यलाई ब्यालेन्स ट्रान्सफरको प्रस्तावसहित ‘हेल्प पोस्ट’ गरेका थिए । ‘समग्रमा भन्नुपर्दा मैले फन्ड पठाउनुपर्नेमा साह्रै बेबकुफ भएर ४५ सय रुपैयाँ रिचार्ज गरेछु,’ उनले लेखेका छन्, ‘मसँग ५० र १०० को रिचार्ज किनिदिनुहोस्, तपाईंले मलाई जति रुपैयाँ पठाउनुहुन्छ, म त्यसमा १० रुपैयाँ थपेर टपअप गरिदिन्छु ।’ उनले पनि टपअप भइसकेको ब्यालेन्स फिर्ता नहुने जानकारी पाएको खुलाएका छन् ।
उक्त रेडिट पोस्टमा कमेन्ट गर्नेहरूले भी फर भेन्डेट्टालाई एकैपल्ट १ हजार रुपैयाँ पठाउनुको सट्टा बठ्याइँपूर्वक २० पटक ५० रुपैयाँ पठाएर अतिरिक्त १०० रुपैयाँको रिचार्ज हात पार्ने उपायबारे लेखेका थिए । यो किनभने उनले हरेक रिचार्जमा थप १० रपैयाँ बोनस दिने बताएका थिए । ‘२०, ३० प्रतिशत छुट लागेका बेला ब्यालेन्स लिएर अहिले पुनः बिक्री गर्न लागेको त होइन सोल्टी ?’ मोक्ष २०१४ नामक प्रयोगकर्ताले यस्तो शंकालु कमेन्ट पनि गरेका छन् । हाल अर्काइभमा रहेको उक्त पोस्टमा त्यो बेला १६ वटा रोचक कमेन्ट गरिएका देखिन्छन् ।
चैत अन्तिम साता फेसबुकका डिजिटल क्रिएटर प्रवीण अग्रवालले ‘घरको भाडा तिर्न राखेको ७८ हजार १ सय ८ रुपैयाँ झुक्किएर मोबाइलमा टपअप भएछ, फिर्ता पाउन सकिन्छ कि नाइँ ?’ लेखेर पोस्ट गरे । साथमा उनले मोबाइलमा ७८ हजार रुपैयाँ ब्यालेन्स हुँदा २८ दिनसम्म ५९९ रुपैयाँमा प्रतिदिन १.५ जीबी डेटा, ८८८ रुपैयाँमा डबल मज्जा प्याकअन्तर्गत ८८ जीबी डेटालगायत विकल्पसहितको स्क्रिनसट जस्तो देखिने तस्बिर पनि पोस्ट गरेका थिए । सो पोस्ट सामाजिक सञ्जालमा फैलिएपछि प्रवीणले कमेन्टमा लेखेका छन्, ‘यो साँचो कुराचाहिँ होइन । मैले मान्छेहरूको ज्ञान परीक्षण गर्न र यस्तो परिस्थिति आइपरे के गर्न सकिन्छ भनेर यो पोस्ट गरेको हुँ ।’ं एकै पटकमा ७८ हजार रुपैयाँ मोबाइल टपअप गर्ने नेपालमा सुविधा छैन ।

फिर्ता हुँदैन ब्यालेन्स
मोबाइल वालेटहरूबाट १० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म मोबाइल टपअपको सुविधा छ । बैंकिङ एपमार्फत पनि प्रयोगकर्ताले मोबाइल टपअप गर्न सक्छन् । प्रायः बैंकका एपमा १० रुपैयाँदेखि ५ हजारसम्म टपअप गर्न मिल्छ । कनेक्ट आईपीएसमा ५ हजार रुपैयाँसम्म टपअप गर्न सकिन्छ । मोबाइलबाटै टपअप सुविधाका कारण रिचार्ज कार्ड छाप्ने र स्क्र्याच गर्ने झन्झट कम भएकामा टेलिकम अपरेटर र कतिपय प्रयोगकर्ताहरू खुसी छन् । तर टपअपमा समस्या आउँदा बैंक तथा वित्तीय संस्थाले टेलिकम कम्पनीलाई र टेलिकम कम्पनीले भुक्तानी सेवा प्रदायक संस्थालाई देखाउने हुँदा अलमलमा परिएको प्रयोगकर्ताको गुनासो छ ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रिपेड
नम्बरमा हुने टपअपसम्बन्धी समस्या वालेट कम्पनी वा बैंकहरूबाट समाधान हुने जनाएको छ । पोस्ट–पेड
सेवामा सजिलै ‘रिफन्ड’ को सुविधा भए पनि प्रि–पेडमा भने रकम फिर्ता गर्न असहज रहेको टेलिकमका प्रवक्ता हरि ढकालले बताए । ‘हाम्रो कस्टमर सपोर्टमा यस्ता समस्या धेरै आउँछन्,’ उनले भने, ‘वालेटहरूबाट टपअप भएको छ र त्यो रिफन्ड गर्न चाहेमा वालेटहरूले नै हामीलाई जानकारी गराए भने मात्रै हामीले पहल गर्न सक्छौं, नत्र सक्दैनौं । किनभने हामी आफैंले के–कति टपअप भएको हो भन्ने भेरिफाई गर्न सक्दैनौं । धेरै नै ठूलो रकम टपअप भएको स्पेसल केसमा चाहिँ छुट्टै तरिकाले हेरिएला । तर सामान्यतया प्रिप्रेड नम्बरको टपअपसम्बन्धी समस्या हामी खासै हेर्दैनौं ।’
निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि रिचार्ज गरिएको ब्यालेन्स फिर्ता नहुने स्पष्ट पारेको छ । तथपि त्यस्ता ग्राहकलाई आफ्नो ब्यालेन्स साथीभाइ वा आफन्तहरूलाई ट्रान्सफर सुविधामार्फत पठाउन सुझाव दिने गरेको एनसेलले जानकारी दिएको छ । ‘जब ग्राहकले भूलवश ब्यालेन्स रिचार्ज गर्छन्, हामी ग्राहकले इच्छाएका अन्य एनसेलका सेवा प्रयोग गर्ने ग्राहकहरूलाई ब्यालेन्स समायोजन गरिदिन्छौं,’ एनसेलले इमेल–अन्तर्वार्तामा भनेको छ, ‘उदाहरणका लागि, मैले १०० रुपैयाँको सट्टा झुक्किएर १००० रुपैयाँ रिचार्ज गरें भने, त्यसरी रिचार्ज गरिएको बढी ब्यालेन्स मैले एनसेललाई भनेर आफूले चाहेको अन्य एनसेल नम्बरहरूमा बाँड्न सक्छु ।’ एनसेलमा औसत प्रतिदिन १० देखि १५ वटा यस्ता खालका उजुरीहरू आउने गरेको कम्पनीले बताएको छ ।
मोबाइल टपअपबापतको रकम फिर्ता माग्ने ग्राहकको संख्या बढेपछि यसमा उच्चतम सीमा तोक्ने व्यवस्था लागू गरिएको वालेट सेवा प्रदायक ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको भनाइ छ । ‘हामी भुक्तानीमा सहजीकरण गर्ने निकाय हौं, टपअपसम्बन्धी सम्पूर्ण इन्भेन्टरी टेलिकम अपरेटरको हुन्छ,’ उनले भने, ‘अपरेटरको सिस्टम वा सर्भरमा एक पटक रकम जम्मा भएपछि त्यो फिर्ता गर्ने गरिएको छैन । कसैले ५० हजार रुपैयाँ रिजार्च गर्‍यो भने त्यो रकम फिर्ता हुँदैन ।’ उनका अनुसार केही समयअघि एक व्यक्तिले झुक्किएर २५ हजार रुपैयाँ मोबाइल टपअप गरेका थिए र त्यो रकम फिर्ता भएको थिएन ।
त्रुटिवश ग्राहकलाई यस्तै ‘ठूलो क्षति’ नहोस् भनेर आफूहरूले एनटीसीको मोबाइल टपअप रकममा एक पटकमा ५ हजार रुपैयाँ र एनसेलमा ३ हजार
रुपैयाँ उच्चतम सीमा तोकिदिएको खड्काले जनाए । प्रभु बैंकको अल्टरनेट डेलिभरी च्यानलका प्रमुख ऋषिराम न्यौपानेले पनि यस्ता समस्या आउँदा ग्राहकलाई
ब्यालेन्स ट्रान्सफरको सुझाव दिने गरेको बताए । ‘यसबारे हामीले टेलिकम कम्पनीसँग कुरा गरेका थियौं, कम्पनीले प्राविधिक रूपमै रकम फिर्ता गर्न नमिल्ने बतायो,’ उनले भने, ‘ग्राहक साक्षरता बढेसँगै पछिल्लो समय यस्ता समस्या कम भएका छन् ।’
मोबाइल रिचार्ज र वालेट टपअपमा मान्छे झुक्किने गरेकाले यस्ता समस्या नआऊन् भनेर आफूहरूले ग्राहक सचेतनाका कार्यक्रम गरिरहेको एनसेलको दाबी छ । मोबाइलमा रिचार्ज गरेपछि त्यो ग्राहकको मेन ब्यालेन्सका रूपमा जम्मा हुने र रिचार्ज गर्नासाथ अपरेटरको बिलिङ प्रणालीबाट रिचार्जबापत सरकारलाई बुझाउनुपर्ने स्वामित्व कर र मूल्य अभिवृद्धि कर स्वतः काटिने भएकाले रकम फिर्ता गर्न नमिल्ने कम्पनीहरूको भनाइ छ । एक सय रुपैयाँको रिचार्ज गर्दा कुल २ रुपैयाँ करमा जाने एनसेलले इमेलमार्फत जानकारी दिएको छ ।

अर्थ वाणिज्य

सरकारले अनुदान रकम नदिँदा अन्योलमा कृषि बिमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कृषि बिमामा अनुदानबापत रकम सरकारले नदिँदा बिमा कम्पनीहरूले कृषि बिमा लेखको बिक्री र दाबी भुक्तानी रोकेका छन् । कम्पनीहरूले जारी गरेको विज्ञप्तिमा कृषि बिमालेख बिक्री र दाबी भुक्तानी रोक्ने चेतावनी मात्र दिएका छन् । तर, भित्रभित्रै बिमालेख बिक्रीसँगै दाबी भुक्तानी रोकेको कम्पनीहरूले स्विकार्छन् । कम्पनीहरूले यही वैशाख १० मै विज्ञप्ति निकालेर अनुदानबापतका रकम तत्काल नआए दाबी भुक्तानी पनि रोक्ने चेतावनी दिएका थिए । बुधबार यसअघि जारी विज्ञप्तिलाई पुनः जारी गरेर नेपाल बिमक संघले तत्काल अनुदानबापत रकम भुक्तानीको माग गरेको हो ।
‘विगत १० वर्षदेखि बिमा कम्पनीहरूले नियामक निकाय नेपाल बिमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बिमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्षपछि मात्र प्राप्त हुने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले कृषि बिमा शुल्कमा तोकेको अनुदान रकम बिमा कम्पनीहरूलाई दिन करिब दुई अर्ब बाँकी छ । उपरोक्त अनुदान रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बिमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दासमेत हालसम्म प्राप्त नभएका कारण बिमा कम्पनी अत्यधिक जोखिममा छन् ।’
एकतर्फ कृषि बिमाको अनुदान प्राप्त नहुने र अर्कोतर्फ दाबीको भुक्तानी तत्काल गर्नुपर्ने परिस्थितिका कारण बिमकहरूको नगद प्रवाहमा समस्या भएको छ । तसर्थ, निर्जीवन बिमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघको मिति ०८१ वैशाख १० मा बसेको पूर्ण बैठकको निर्णयअनुसार नेपाल सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन यसै प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्दछौं । ‘अन्यथा नगद प्रवाहको अभावमा बिमकहरूलाई दाबी भुक्तानी गर्न असहजता हुने व्यहोरा सम्पूर्ण सरोकारवाला निकायलाई जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट कृषि बिमा गर्ने बिमित तथा दाबीकर्तामा पर्न जाने असरप्रति क्षमाप्रार्थी छौं ।’
कृषि बिमालेख बिक्री नरोक्न नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघि बिमा कम्पनीहरूले कृषि बिमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बिमालेख बिक्री नगर्ने भन्दै सूचना जारी गरेका थिए ।
बुधबार त्यही पुरानै धारणा दोहोर्‍याउँदै बिमक संघले पुनः विज्ञप्ति जारी गरेको थियो । त्यसपछि प्राधिकरणले बिमालेख बिक्री र दाबी भुक्तानी नरोक्न निर्देशन दिएको हो ।
नेपाल बिमक संघबाट ०८१ वैशाख १२ मा जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ । ‘कृषि तथा पशुपन्छी बिमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको छ,’ प्राधिकरणको निर्देशनमा भनिएको छ, ‘निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुरु गर्न निर्देशानुसार आग्रह गरिएको छ ।’ आगामी दिनमा यस प्रकारका बिमा बजारमा भ्रम सिर्जना हुने तथा बिमाको विश्वसनीयतामा नै असर पर्ने खालका विज्ञप्ति एवं सूचना सम्प्रेषण नगर्नसमेत प्राधिकरणले भनेको छ ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


फुडमान्डु अब चितवनमा पनि
काठमाडौं (कास)– फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरा हुँदै चितवनमा पनि विस्तार भएको हो । काठमाडौं र पोखरामा पहिलेदेखि नै रहेको कम्पनीले यही शुक्रबार पत्रकार सम्मेलनमार्फत चितवनवासीले समेत अनलाइनबाटै खाने कुराहरूको अर्डर गर्न सकिने जानकारी दिएको हो । ‘फुडमान्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं,’ कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टका खानेकुरा घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित छौं ।’ चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको छ । भविष्यमा अन्य सेवा पनि विस्तार गर्दै जाने कम्पनीको प्रतिबद्धता छ ।

धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आईएमई सम्मानित
काठमाडौं (कास)– ग्लोबल आईएमई बैंक लिमिटेड आर्थिक वर्ष ०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाका रूपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा ग्लोबल आईएमई बैंक सम्मानित भएको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गरे । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलनमा समेत योगदान पुर्‍याएको भन्दै प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ । ग्लोबल आईएमई बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको छ ।

३५ प्रतिशत लाभांश वितरण गर्दै सूर्यज्योति
काठमाडौं (कास)– सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले मर्जरको एक वर्ष पूरा गरेको अवसरमा कम्पनीले उक्त लाभांश वितरण गर्ने भएको हो । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले ०७९ पुस ७ मा संयुक्त कारोबार
सुरु गरेको थियो । सूर्यज्योतिले ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको सूर्यज्योतिका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ छ । कम्पनीले १ सय ७८ शाखामार्फत सेवा दिँदै २८ लाख बिमालेख जारी गरिसकेको जनाएको छ ।

सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सेवा
काठमाडौं (कास)– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख ९ देखि भिडियोमार्फत केवाईसी लिने प्रक्रिया जारी गरेको छ । विदेशमा बसोबास गर्ने व्यक्तिहरूको बिमा गर्दा ई–एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरण अभिकर्ता पोर्टलमार्फत प्राप्त हुने बताइएको छ । केवाईसीसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको हो । प्रस्तावित बिमितले सम्पूर्ण आवश्यक विवरण अभिकर्ता पोर्टलमार्फत पेस गरेपछि ई–एप्लिकेसन डिक्लेरेसन फर्ममा आवश्यक विवरण भरेपछि स्क्यान गरी अनलाइनमार्फत रजिस्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बिमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसीसम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा पठाउनुपर्नेछ । भिडियो केवाईसी सेवाले बिमा अभिकर्ताहरूलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीको दाबी छ ।

तत्त्वले ल्यायो विभिन्न स्वादका सक्खर
काठमाडौं (कास)– परम्परागत रूपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग हुने सक्खर (ज्यागरी) लाई तत्त्व फार्म्सले विभिन्न स्वादमा बजारमा ल्याएको छ । मौलिक एवं औषधीय गुणयुक्त सक्खर ओरिजिनल, सिनेमन, स्याफ्रोन, मसला टी, टर्मरिक, ब्ल्याक पेपर र जिन्जर गरी सात फरक स्वादमा उत्पादन गरिएको कम्पनीले जनाएको छ । तत्त्वका उत्पादन काठमाडौं उपत्यकासँगै पोखरा, भैरहवा, नारायणगढ, बुटवल, नेपालगन्जलगायत सहरका भाटभटेनी, सेल्सबेरी, बिगमार्टमा उपलब्ध छन् । दराजमार्फत अनलाइन अर्डर गरी नेपालभर मगाउन सकिने कम्पनीले जनाएको छ । ३ सय ग्रामको ओरिजिनल सक्खरको एक सय ७५ रुपैयाँ र ६ सय ग्रामको तीन सय २५ रुपैयाँ मूल्य तोकिएको कम्पनीले बताएको छ । अन्य फ्लेवरको भने स्वादअनुसार फरक–फरक मूल्य छ ।

Page 7
Page 8
खेलकुद

विश्वकपअघिको अवसर

- विनोद पाण्डे

(काठमाडौं)
स्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने
ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुनु एक महिनामात्र बाँकी छ । नेपालले वेस्ट
इन्डिज ‘ए’ सँग शनिबार सुरु ट्वान्टी–२० शृंखला खेलिरहँदा विश्वकप खेल्ने अन्य टोलीको ध्यान पनि यसले तान्ने छ ।
नेपाल र वेस्ट इन्डिजसहित अन्य १८ टोलीले ५ दिनभित्र १५ सदस्यीय अन्तिम खेलाडी नामावली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा बुझाइसक्नु पर्नेछ । नेपाल र वेस्ट इन्डिज दुवैले आफ्नो अन्तिम टोली घोषणा गर्नुअघि शृंखलाको दुई खेल खेल्ने छ । त्यसैले दुवै टोलीलाई
अन्तिम टोली घोषणा गर्नुपूर्व यो दुई खेल महत्त्वपूर्ण हुनेछ ।
वेस्ट इन्डिजबाट नियमित खेल्दै आएका कप्तान रोभमन पोवेल, एन्ड्रे रसेल, निकोलस पुरन, केयल मेयर्स, सेरफान रदरफोर्ड, रोमारियो सेफर्ड, अल्जारी जोसेफ र सिमरन हेटमरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिरहेका छन् भने पूर्वकप्तान जेसन होल्डर इंग्लिस काउन्टी क्रिकेट खेलिरहेका छन् । त्यसबाहेक अन्य सबैका लागि विश्वकपमा वेस्ट इन्डिज टोलीमा पर्न नेपालसहितका खेल अवसरको रूपमा रहेको छ ।
‘नेपालसँगको शृंखला विश्वकप तयारीलाई लिएर हाम्रा खेलाडीका लागि अवसरको रूपमा रहेको छ, हाम्रो छनोटकर्ताले अझै वेस्ट इन्डिजको विश्वकप टोलीमा दुई स्थान खाली छ भनेका छन्,’ वेस्ट इन्डिजका कप्तान
रोस्टन चेजले भने, ‘त्यसैले पनि हाम्रा खेलाडी र नेपाली खेलाडीका लागि विश्वकपमा छानिने अवसर छ ।’
मे १ (बुधबार) सम्म सबै टोलीले अन्तिम टोली आईसीसीमा बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । त्यसअघि शनिबार र आइतबार पहिलो दुई खेलमा नेपाल र वेस्ट इन्डिज ‘ए’ प्रतिस्पर्धा गर्दै छन् । नेपालले आरिफ शेखलाई समेट्दै बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको थियो । विश्वकपमा १५ सदस्य खेलाडी हुनुपर्ने प्रावधान छ ।
तर, नेपालले शुक्रबार आफ्नो टोलीमा विनोद भण्डारी, लोकेश बम, सागर ढकाल र कमलसिंह ऐरीलाई थपेर २० सदस्यीय बनाएको छ । खेलाडीको नामावली अन्तिम समय आइसकेको अवस्थाबारेको प्रश्नमा नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले ‘वान बल ब्याटल’ भन्दै कूटनीतिज्ञ जवाफ दिए ।
वेस्ट इन्डिज ‘ए’ टोली हेर्ने हो भने नेपालले ठूलै चुनौती सामना गर्नुपर्ने देखिन्छ । वेस्ट इन्डिज टोलीमा वेस्ट इन्डिज ‘ए’ को टोलीमा जोनसन चार्ल्स, फाबियन एलेन, एन्ड्रे फ्लेचर, हेडेन वाल्स, एलिक अथानाजे, किमो पाउल, ओसाने थोमस जस्ता खेलाडी रहेका छन् । वेस्ट इन्डिजका प्रशिक्षक फ्लोयड रेइफरले नेपालबारे आफूहरू जानकार रहेको बताए ।
‘गत वर्ष विश्वकपमा छनोटमा नेपालले वेस्ट इन्डिजसँग खेलेको हामीले हेरेका थियौं, नेपालले राम्रो खेलेको थियो, नेपालसँग प्रतिभाशाली खेलाडीहरू छन्, हामी कसैलाई कमजोर ठान्ने छैनौं,’ वेस्ट इन्डिजका पूर्व राष्ट्रिय खेलाडी रेइफरले भने, ‘यो राम्रो शृंखला हुने अपेक्षा लिएको छु ।’
जिम्बावेमा भएको विश्वकपमा छनोटमा वेस्ट इन्डिजले नेपाललाई १ सय १ रनले पराजित गरेको थियो । वेस्ट इन्डिजले बनाएको ३३९–७ को जवाफ फर्काउने क्रममा आरिफ शेखले ६३ रन बनाएपछि नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अलआउट भएको थियो ।
विश्वकपअघि वेस्ट इन्डिज ‘ए’ सँग खेल्नु नेपालका लागि ठूलो मौका हुनेछ । विशेष गरी ओमानमा साता दिनअघि एसीसी प्रिमियर कपमा गरेको निराशाजनक प्रदर्शन चिरेर नेपालसामु विश्वकपपूर्व आफ्नो कमजोरी सुधार्ने मौका छ ।
समूह चरणको चारै खेल जितेको नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएर अर्को वर्ष हुने एसिया कपबाट बाहिरिएको थियो भने हङकङसँग तेस्रो स्थानका लागि भएको प्लेअफ खेलमा पराजित भएर नोभेम्बर हुने एसीसी इमर्जिङ कपबाट पनि बाहिरिएको थियो ।
‘ओमानको प्रदर्शनलाई लिएर हामी निराश छौं । समूह चरणका खेलमा हाम्रो सबै मिलिरहेको थियो, तर सेमिफाइनलमा हारेपछि निराशा बढ्दै गयो,’ नेपालका कप्तान रोहित पौडेलले भने, ‘यो सबै बिर्सिएर हामीले तेस्रो स्थानका लागि राम्रो खेल्नुपर्ने थियो । तर, त्यसमा पनि राम्रो भएन । एउटा ब्याटिङ युनिटका रूपमा हामीले राम्रो खेल्न सकेनौं । अब त्यसलाई बिर्सिएर वेस्ट इन्डिजसँगको शृंखलाप्रति हामी उत्साहित छौं । आफ्नो उत्कृष्ट दिन सबै तयार छन् । कीर्तिपुरको कन्डिसन हेर्ने हो भने ब्याटिङका लागि सहयोगी छ, एउटा बलिङ युनिट हाम्रो अझै चुस्त हुनुपर्नेछ ।’
वेस्ट इन्डिज दुई पटकको ट्वान्टी–२० विश्वकप च्याम्पियन हो । वेस्ट इन्डिजको कुनै पनि टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । नेपाली राष्ट्रिय टोलीसँग खेल्न काठमाडौं आउने वेस्ट इन्डिज चौथो टेस्ट टोली हो । पाकिस्तानको क्रिकेट एकेडेमी टोलीले सन् २००८ मा आएर नेपालसँग तीन ५० ओभरको खेल खेलेको थियो । गत वर्ष जिम्बावे ‘ए’ र अघिल्लो महिना आयरल्यान्ड ‘ए’ ले नेपालसँग खेलेको थियो ।
नेपाल प्रशिक्षक देसाई तीन वर्षसम्म वेस्ट इन्डिजको ब्याटिङ परामर्शदाता थिए । गत वर्षको फेब्रुअरीमा उनी नेपालको प्रशिक्षक हुनुअघि वेस्ट इन्डिजमै थिए । उनले ओमानमा हार बेहोरेको पछिल्ला दुई खेलले नेपालको तस्बिर बोल्न नसक्ने जनाए ।
‘वेस्ट इन्डिजको क्रिकेट इतिहास निकै ठूलो छ, ५० ओभरको क्रिकेट संरचनामा आएपछि उनीहरू दुई पटक विश्वकप विजेता बनेका थिए, उनीहरू आफ्नो छवि ट्वान्टी–२० मा पनि त्यहीअनुरुप बनाउँदै दुई पटक विश्व विजेता बनिसकेका छन् । वेस्ट इन्डिजले टेस्ट क्रिकेटमा आफ्नो वर्चस्व कसरी जमाएको थियो भन्ने हामीलाई थाहै छ । हामी हुर्कंदै गर्दा उनीहरूलाई धेरै आदर गर्थ्यौं,’ देसाईले भने, ‘यस खेलमा प्रतिस्पर्धा अवश्य हुन्छ, तर हामीले नतिजाभन्दा यस शृंखलालाई आफ्नो आत्मविश्वास बढाउने अवसरका रूपमा लिएका छौं ।’

खेलकुद

नीरजले जिते काठमाडौं ओपन गल्फ

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नीरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराएर करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन जितेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सातौं प्रतियोगिता काठमाडौं ओपनको अन्तिम दिन शुक्रबार धरानका प्रो नीरजले ८ अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरेका थिए । शिवरामले सन् २०१५ मा एनपीजीए प्रेसिडेन्ट्स कपमा ८ अन्डर स्कोर गरेका थिए ।
शुक्रबार खेल सुरु गर्दा नीरज तीन दिनका लिडर भुवनभन्दा सात स्ट्रोकले पछि थिए । तर, ८ अन्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार रुपैयाँ पुरस्कार पाए । अन्तिम १८ होलको सुरु गर्दा भुवनसँग दिनेश प्रजापतिमाथि ६ स्ट्रोक र नीरजमाथि ७ स्ट्रोकको अग्रता थियो । तर, भुवनले शुक्रबार इभन पार ६८ मा खेल सक्दा समग्रमा ७ अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा चित्त बुझाए । उनले ८२ हजार पाए ।
४ अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए । उनले ६६ हजार जिते । इभन पार ६८ स्कोर गर्दै समग्रमा इभन पार २ सय ७२ सहित तोरणविक्रम शाही चौथो भए । उनले ५३ हजार पाए । समग्रमा २ ओभर २ सय ७४ सहित पाँचौं भएका धनबहादुर थापाले ४५ हजार थापे । उनले इभन पार ६८ खेले ।
उपाधि दाबेदार मानिएका सुवास तामाङ समग्रमा ४ ओभर २ सय ७६ सहित छैटौं भए । प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुवासले ३३ हजार ५ सय पाए । समग्रमा ५ ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खड्काले सातौं स्थान बाँडे । उनीहरूले जनही ३३ हजार ५ सय पुरस्कार पाए । १ ओभर ६९ सहित समग्रमा ६ ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए । उनले २८ हजार थापे ।
समग्रमा ७ ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवनकुमार रोक्काले संयुक्त दसौं स्थानमा प्रतियोगिता सके । सञ्जयले ५ ओभर ७३ र भुवनले १ ओभर ६९ मा खेल टुंग्याए । उनीहरूले जनही २४ हजार पाए ।
एमेच्योरतर्फ समग्रमा १३ ओभर २ सय ८५ सहित सद्भाव आचार्यले उपाधि जिते । उनले ७ ओभर ७५ मा खेल सक्दै टासी छिरिङलाई १० स्ट्रोकले हराए । टासीले समग्रमा २३ ओभर २
सय ९५ स्कोर बनाए । शुक्रबार उनले १२ ओभर ८० मा खेल सकेका थिए । राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कुल ३०० स्कोर सहित तेस्रो भए ।
नीरजले कोर्स रेकर्ड बराबरी गर्नेक्रममा फ्रन्टनाइन ५ अन्डर २९ मा सके । उनले पहिलोदेखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे । नवौं होलमा एक शट बचाएपछि फ्रन्टनाइनको समाप्तिमा भुवनभन्दा मात्र एक स्ट्रोकले पछि थिए । भुवनले भने फ्रन्टनाइन १ ओभर ३५ मा सके । उनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलमा डबल बोगी र पाँचौं होलमा बोगी खेपे ।
नीरजले फ्रन्टनाइनकै प्रदर्शनलाई निरन्तरता दिए । १० औं होलमा बर्डी प्रहार गर्दै नीरजले भुवनसँग स्कोर बराबरी गरे । यसपछि १३ र १४ औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा नीरजले दुई स्ट्रोकको अग्रता बनाएका थिए ।
१६ औं होलमा हजार्डबाट बोगी खेले पनि १७औं होलको उत्कृष्ट बर्डीले पुनः २ स्ट्रोकको अग्रता बनाए । उनले ब्याकनाइन ३ अन्डर ३१ मा
सक्दा एक स्ट्रोकको जित निकालेका हुन् । भुवनले भने १२ औं होलको बोगीविरुद्ध ११ र १८ औं होलमा बर्डी प्रहार गरे । ब्याकनाइन १ अन्डर ३३ मा सके ।
जयरामले फ्रन्ट र ब्याकनाइन दुवै २ अन्डर ३२ मा सके । फ्रन्टनाइनमा उनले दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे भने नवौं होलमा एक शट खेर फाले । ब्याकनाइनमा १३, १४ र १७ औं होलमा एक एक शट बचाए भने १६ औं होलमा बोगी प्रहार गरे ।
विजेतालाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार प्रदान गरे ।

खेलकुद

एपीएफ र पुलिस फाइनलमा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास) एपीएफ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्ध सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छ ।
चार टिम सहभागी प्रतियोगिताको राउन्ड रोबिन लिगमा एपीएफ शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
राखेप कभर्डहलमा साविक उपविजेता एपीएफले साबिक विजेता न्यु डायमन्ड भलिबल क्लबलाई राक्दे आफ्नो अपराजित यात्रा कायम राखेको थियो । लिगकै अन्तिम खेलमा एपीएफले न्यु डायमन्डलाई ३ २ को प्रतिस्पर्धात्मक सेटमा हरायो । एपीएफले २५ १६, २५ १८, १९ २५, १३ २५, १५ ११ ले सेट जितेको हो । एपीएफकी सृष्टि खड्गी प्लेयर अफ द म्याच
घोषित भइन् । यसअघि एपीएफले पुलिस र आर्मीलाई हराएको थियो ।
त्यसअघि शुक्रबारै पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५ १९, १७ २५, २५ १५, २५ १३ को सेटमा हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो । पुलिसकी लक्ष्मी चन्द प्लेयर अफ द म्याच बनिन् । तीन खेलमा पुलिस दोस्रो जित निकाल्दै फाइनल पुगेको हो । पहिलो खेलमा एपीएफसँग पराजित पुलिसले दोस्रो खेलमा न्यु डायमन्डविरुद्ध जित निकालेको थियो ।
केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ । न्यु डायमन्ड र आर्मीले तेस्रो स्थानका लागि खेल्नेछन् । विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । तेस्रो हुने टोलीले १ लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने जनही २५ हजार पाउनेछन् ।

खेलकुद

छोटकरी

- कान्तिपुर संवाददाता


ऋतिक र अभिलाषालाई स्वर्ण
काठमाडौं (कास) ऋतिक राना र अभिलाषा विष्टको जोडीले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेको छ । ऋतिक र अभिलाषाको जोडीले त्रिपुरेश्वरस्थित राखेप टेनिस कोर्टमा भएको फाइनलमा प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६ १, ७ ५ को सोझो सेटमा हराएको थियो । पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले भेट्रानतर्फ दोहोरो स्वर्ण जिते । उनले पुरुष ३५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण जिते । जितेन्द्रले सन्तोष खत्रीलाई ३ ६, ६ ३, १० ३ को सेटमा हराए । जितेन्द्रले इलम दीक्षितसँग मिलेर अनिल साइ र सीमान्त गुरुङको जोडीलाई ३ ६, ७ ५, १० ७ को सेटमा हराए । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा विजेता बने । उनले फाइनलमा कर्मा घलेलाई ६ ०, ६ १ ले हराए । विमलकुमार गुरुङले पनि दोहोरो स्वर्ण जिते । ५५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा विमलले प्रदीपबहादुर शाहमाथि ६ २, ६ १ को जित पाए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६ २, ६ २ को सोझो सेटमा हराए । पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर तथा महिलामा अभिलाषा विष्ट र सुनीरा थापाबीच फाइनल हुनेछ ।
राष्ट्रिय रेटिङ चेस सुरु
काठमाडौं (कास)– नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार ललितपुरको सानेपामा सुरु भएको छ । यामाहा मोटरसाइकलसहित कुल ६ लाख ३७ हजार ४ सय पुरस्कार राशिको बुद्धिचाल प्रतियोगितामा कपिलवस्तुका ६ वर्षीय अंकुर पोखरेलदेखि मखन चेस क्लबका ८० वर्षीय भेट्रान खेलाडी सीताराम अग्रवालले सहभागिता जनाएका छन् । ११२ खेलाडी सहभागी प्रतियोगिता विभिन्न विधाका ४० खेलाडीले पुरस्कार पाउने संयोजक राजु ताम्राकारले जानकारी गराए । प्रतियोगिताका प्रमुख निर्णायक सोराज ताम्राकारले ७ चरणको खेलपछि ४ खेलाडीले सुपर नकआउट सेमिफाइनल र फाइनल खेल्नेछन् भने बाकी १०८ खेलाडीले ९ चरणको खेल खेल्ने बताए । नेपाली कांग्रेस पार्टी कार्यालयमा प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए ।

 

Page 9
कोसेली

नीलो जाकामान्डु

- डा. तीर्थबहादुर श्रेष्ठ

 

गायिका तारादेवीको सुरिलो आवाज आकाशबाट ओर्लेर धर्तीलाई फेरि झुलाउन थालेको छ । ‘चैत जाँदो, वैशाख लाग्दो सुन हजुर सालको पात पलायो’ भन्ने लोक लयहरू कानमा गुन्जिन थालेको छ । ‘हाँगाहाँगा वनभरि चैत फुलेछ, थाहा नपाई मनभित्र बैंस फुलेछ’ भन्दै हरिभक्त कटवाललाई टिपेर युवायुवतीका चहलपहल बढ्न थालेका छन् । ‘वनभरि फुलिदिन्छु, मनभरि झुलिदिन्छु’ भन्दै लालीगुराँसले पहाडै छोप्न थालेको छ ।
अग्नि ज्वालासरि धपक्कै बलेर तराई–मधेसका वनमा पलाँस फुल्न थालेको छ । नयाँ वर्षको स्वागतार्थ लहानको सहलेश फूलबारीमा हारम वृक्षको काँधमा चढेर एक विशिष्ट सुनाखरी (डेन्ड्रोवियम एफाइलम) लटरम्म फुल्न थालेको छ । राजा सहलेशलाई पर्खिबसेको एक प्रेमिकाको कथा–व्यथा बोकेर प्रत्येक वर्ष वैशाख १ मा फुलिदिने उक्त सुनाखरी हेर्न आएका हजारौं दर्शनार्थीका घुइँचोलाई सहलेश फूलबारीले स्वागत गरेको छ । यही बेला नानीहरूलाई फूल र जीवनको महत्त्व बुझाउने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झिन मन लाग्छ–
नटिप्नु हेर कोपिला
नचुाड्नु पाप लाग्दछ ।
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ ।।
नयाँ वर्षलाई फूलमा टिप्न अर्को जनसमुदाय काठमाडौं उपत्यकाको फूलचोकी माई पुग्छन् र त्यहाँ काठमाडौं उपत्यकाका डाँडाहरू लालीगुराँसमा रंगीन थालेको हुन्छ । त्यसो त मेची–महाकाली नै गुराँसको लालीमा रंगिने बेला हो यो चैत–वैशाख । लालीगुराँसको सर्वोत्तम छटा भने तीनजुरे– मिल्के– जलजलेको वनमा नजर हुन्छ । त्यो क्षेत्र लालीगुराँसको राजधानी मानिन्छ । त्यस्तो वन अन्यत्र भेटिँदैन ।
लालीगुराँसको अर्को अलौकिक दर्शन पोखरा–जोमसोमको बाटोमा पर्ने घोडेपानी–पुनहिलको यात्रामा साकार हुन्छ । क्षितिजभरि धवलागिरिमा लालीगुराँस फुलेको दृश्य बयान गरेर साध्य हुँदैन । लालीगुराँसको लोकप्रियतालाई मध्यनजरमा राखेर २०१९ सालदेखि नै यस पुष्पलाई ‘राष्ट्रिय फूल’ मानिएको हो । यस वनस्पतिको वैज्ञानिक नाम ‘रोडोडेन्ड्रन आर्बोरियम’ स्थापित छ । विश्वमा गुराँस जाति ‘रोडोडेन्ड्रन’ भित्र ७०० भन्दा बढी प्रजाति हुन्छन् । तीमध्ये सबभन्दा अग्लो कदमा हुर्कने वृक्ष लालीगुराँस हो । यो ८ वा १० मिटरसम्म अग्लो हुन्छ । तर, सबै वृक्षमा एकनासले रातो फूल फुल्दैन । प्रकृतिका लीला अचम्मको हुन्छ । पहाडको उच्च भूभागतिर उकालो लाग्दा यसको रंगमा फिकापन आउन थाल्छ र उच्च भूभागमा पूरै सेतो रंगमा पनि फुलिदिन्छ । काठमाडौंको शिवपुरी–वाग्द्वार क्षेत्र होस् वा उँधो र उँभोतिर रातो फूलका वृक्षहरू पनि हल्का गुलाबी हुन्छन् । र, उच्च क्षेत्रमा सेतो फूल फुल्ने गुराँस भेटिन्छ ।
विज्ञानको आँखामा ती सबै एउटै प्रजातिभित्र पर्छ । नेपालभरिका पहाडी र हिमाली क्षेत्रमा अरू विभिन्न थरीका ३२ गुराँस प्रजातिहरू पाइन्छन्– कुनै मात्र एक बित्ता अग्लो, कुनै ससाना झाडीमा झाँगिने, कुनै बिरुवा अरू वृक्षको काँधमा चढेर हुर्कने र कुनै वृक्षको रूपमा वनभरि फैलिने ! गुराँसका प्रजातिहरूको उपस्थिति कोशी क्षेत्रमा २८ वटा, गण्डकी क्षेत्रमा १० वटा र कर्णाली तथा महाकाली क्षेत्रमा मात्र पाँच वटामा सीमित हुन्छ । हाम्रा ती ३२ प्रजातिका गुराँसमध्ये २३ प्रजातिका गुराँसहरू यही चैत–वैशाखतिर फुल्छन् । सेतो, पहेँलो सुन्तले, लाली र सिम्रिक रंगमा फुल्छन् नेपाली गुराँसहरू । तीमध्ये अधिकांश प्रजाति युरोपेली वनस्पति उद्यानहरूमा फुल्न सफल भएका छन् । नेपाली उद्यान र बगैंचामा तिनको उपस्थिति प्रायः शून्य छ । वनस्पति विकासमा सम्बन्धित विज्ञान–प्रविधितिर राष्ट्रको लगानी र लगनशीलता पर्याप्त नहुनुको एउटा संकेतका रूपमा त्यसलाई स्वीकार्नुपर्छ ।
काठमाडौंको बागबगैंचा र उद्यान एवं पार्कहरूमा लालीगुराँसको सट्टा ‘एजेलीमा’ फुल्छ । गुराँस परिवारको यो सदस्य चीनको मध्य क्षेत्र एवं युनानको रैथाने भए पनि युरोप, अमेरिका, एसिया सबैतिर लोकप्रिय छ । सानो कदको बुट्यान भए पनि चैत–वैशाखको सुक्खायाममा बोटैभरि रातो गुलाबी वा वैजनी फूल ढकमक्क हुन्छ । यिनका सौन्दर्य अल्प आयुको हुन्छ । दीर्घायु फूलको रूपमा आजभोलि अति लोकप्रिय बन्न पुगेको छ ब्राजिलका रैथाने बोगेन मिलिया ।
विशेषतः रातो एवं प्याजी वा वैजनी रंगमा सजिने भए पनि सेतो वा पहेँलो रंगमा पनि उपलब्ध हुन्छ यो बिरुवा । तीनवटा ससाना फूलको रक्षार्थ तीनवटा पातहरू रंगीन रूपमा तैनाथ हुन्छन् । ती सुक्दैनन्, ओइलाउँदैनन् । कागजको फूलसरी हुन्छन् ती रंगीन पत्रहरू । नेवारी मालीले ती फूललाई ‘भोंस्वाँ’ अर्थात् कागजे फूल भने र नेपाली भाषाका बगैंचेहरूले ‘वैगन बेली’ भने । किनभने यो बिरुवा बेलीजस्तै लहरामा हुर्किन्छ ।
काठमाडौं उपत्यकाभित्रका दरबार, होटल, रिसोर्ट, रेस्टुराँ एवं विभिन्न संस्थाहरूमा पनि फूल–बिरुवा रोप्ने एवं बगैंचा सजाउने प्रचलन अरू बढ्न थालेको छ । बाटोघाटो र सडकमा पनि बिरुवा रोप्ने चलन बढेको छ । ती फूल, ती बिरुवा र ती वृक्षहरूको वंशावली पल्टायौं भने ९८ प्रतिशत विदेशी आगन्तुक ठहरिन पुग्छ । वसन्तको प्रस्फुटनमा पूलहरू काठमाडौं, मेक्सिको र ब्राजिलमा फुल्छ । हाम्रो बाटोघाटोमा अहिले अस्ट्रेलियाको वृक्ष सिल्भर ओके सुनौलो पहेँलो काँगियो फूल बनेर फुल्दो छ । तिनका बहिनी बनेर ब्राजिलको जाकारान्डा नीलो नीरमा फुल्न थालेको छ । केही दिनभित्र ‘काठमान्डु’ ले ‘जाकामान्डु’ को नीलो रूप लिनेछ । दरबारका मालीहरूले ‘चखुँचा स्वाँ’ अर्थात् ‘भँगेरी फूल’ नाम दिएको यस वनस्पति जाकाराण्डालाई लेखक पारिजातले ‘शिरीषको फूल’ मा नामान्तरण
गरिदिएकी छिन् ।
केही वर्षयता काठमाडौंका सडकपेटीमा क्यारेबियन सागर वरपरका टापुहरूमा फस्टाउने गरेको ‘यलो ट्रम्पेट’ नामक पहेँलो बिगुले फूलको बिगबिगी बढ्दो छ । दसैं–तिहार ताकाबाटै फुल्न थालेपछि यो वृक्ष चैत–वैशाखसम्म पनि थाक्दैन । यसकै प्रतिस्पर्धामा धेरै महिना लामो फुल्ने अर्को ब्राजिली वनस्पतिलाई हामी स्वस्थानी फूल भन्न थालेका छौं । किनभने माघ महिनाको स्वस्थानी व्रतको समय अरू फूल दुर्लभ हुन्छ, तर यसको प्रचुरता छेलोखेलो हुन्छ । ससाना खोर्सानीको आकारमा पहेँलो वा रातो रंगमा झुप्पाका झुप्पा फूलहरू लहरा भरिभरि लटरम्म हुन्छ । पर्खाल, बगैंचा र बार्दलीहरू पुस–माघ मात्र होइन, फागुन–चैतमा पनि यो फूलको शृंगारमा सजिएको हुन्छ । हाम्रो तिहारलाई पुष्पमय बनाउने परम्परागत सयपत्री आजभोलि बाह्रै महिना बजारमा र बगैंचामा पनि उपलब्ध छ । मेक्सिकोको रैथाने यो पुष्प विश्वव्यापी भइसकेको छ । सयपत्री हाम्रोमा पूजाआजा, मानसम्मान, चाडपर्व एवं स्वागतमा मात्र होइन, अन्तिम बिदाइमा समेत अधिक प्रयोग हुने गरेको छ । धन्य सयपत्री !
हाम्रा घर, आँगन र बगैंचामा अधिक भेटिने वासन्ती फूलमध्ये ससाना बिगुल आकृतिमा फुल्ने पेटुनिया, भ्यागुताको मुख बाउने भ्यागुते ‘स्नाप ड्रागन’, भँगेरी पुच्छर आकृतिका ‘एन्टिराइनम’ तथा ‘लार्क स्पर’, भुइँमा टाँसिएर फैलन गलैंचे फूल ‘भाइ वर्नम’ तथा झुरभुरे पुष्प पत्रमा सजिने ‘कार्नेसन’ आदि फूलहरूका विकसित रंग र रूप शब्दमा वर्णन गर्न सकिँदैन । फूलका यस्ता विकसित रूप र रंग उत्पादन गर्ने प्राविधिक क्षमता बढाउन नेपाली पुष्प व्यवसायीहरूले विशेष पलह गर्नुपरेको छ, नत्र प्रत्येक वर्ष विदेशी बीउ र बेर्नामा हाम्रो द्रव्य खर्च हुने क्रम कम हुँदैन ।
अहिलेको मौसममा कडा घामको प्रतिउत्तरमा उनेर सूर्यसँगै उदाउने र सूर्यसँगै अस्ताउने ‘मेसेम्ब्रयम्थेमम्’ का दुई प्रकारका फूल लोकप्रिय हुँदै छन् । जमिनमा टाँसिएझैं जमिन ढाकेर फुल्ने ‘लिमिङ स्टोन डेजी’ तथा ससाना डाँठमा ठडिएर बडो फूर्तिले फुल्ने ‘ट्रेलिङ इन आइस’ भनिने फूलको चहक अति लोभलाग्दो हुन्छ । सूर्यमुखी आकृतिमा ससाना चक्का असर्फी बनेर फुल्ने रातो, पहेँलो, सुन्तले, गुलाबी र प्याजी फूलका बिरुवा दक्षिण अफ्रिकादेखि आइपुगेका हुन् । नेपाल तिनको पनि स्वागत गर्दछ । युरोपेली देशबाट आएका हाम्रा पुराना अतिथि फूलहरूमध्ये ‘प्यान्जी’ ज्यादै आकर्षक हुन्छ । पुष्पपत्रहरू पुतलीका पखेँटा जस्तै देखिन्छन् र तिनका सौन्दर्यको प्रतिस्पर्धा पनि पुतलीले मात्रै गर्न सक्छ । पहिलेका मालीहरू यो फूललाई ‘भौचा स्वाँ’ अर्थात् बिरालो फूल भन्दथे । टुलटुले आँखा उघारेर हेरिबस्ने बिरालोका अनुहार स्मरण गराउने प्यान्जीको कमाल हो । आजभोलि धेरैको बगैंचामा ढ्वाङ फूलको बाहुल्य छ । ठूलठूला प्याजजस्तो डल्लो गानोबाट सलक्क उठेको डाँठमा चारपाँचवटा फूलहरू सजिएका हुन्छन् । टुँडिखेल खुल्ला मञ्चमा भाषण सुन्न जाँदा खम्बामा जडिएका ढ्वाङको आकृतिमा यो फूल फुल्दछ । अधिकतम् फूल गाढा रातो रंगमा फुल्दछ । सेतो खालको पनि नहुने होइन, तर रातोको चाह स्वभावतः बढी हुन्छ । यो फूल भने दक्षिण अमेरिकी राज्य पेरुको रैथाने हो, जहाँबाट संसारलाई आलुको बाली नसिब भयो ।
गुलाबबिनाको बगैंचा हामी कल्पना गर्दैनौं । विश्व बजारमा हजारौं थरीका गुलाब पाइन्छन् । अरब भाषामा ‘गुल’ भनेको फूल र ‘आव’ भनेको पानी हुन्छ । हामी गुलाब जल पनि प्रयोग गर्छौं, सुवासका लागि । सुवासिलो मात्र होइन, विभिन्न मनमोहक रूप र रंगमा गुलाबले हाम्रो बगैंचा सिँघार्छ । हाम्रो रैथाने गुलाब भने वनमा मात्र फुल्छ । गाउँघरमा भैंसी काँडा नामले प्रख्यात काँडे लहरामा सुवासिलो सेतो खालको फूल फुल्छ । त्यसको कस्तूरी वासना अति मधुर हुन्छ । अंग्रेजीमा तिलाई ‘मस्क रोज’ भनिन्छ । वैज्ञानिक शब्दावलीमा ‘रोजा मस्केटा’ हो । शिवपुरीलगायत उपत्यकाका विभिन्न वन क्षेत्रमा यो कस्तूरी कसैले भेट्टाएर बगैंचामा फुलाउला कि भन्ने पर्खाइमा छु । लिली प्रजातिका अनेकौं बगैंचा घुम्दा युरोप र अमेरिकाभरिका लिली देख्न पाइन्छ । हाम्रो नेपाली लिली, जसलाई वैज्ञानिकहरू ‘लिलियम नेपालेन्स’ भन्दछन्, त्यो देख्न पाइन्न । मुन्टो भुइँ फर्काएर घोप्टो भएर फक्रिने यस फूलका ६ वटा तरेली हल्का पहेँलो हुन्छ र भित्री भागमा यो फूलको चक्लेटी रंग ज्यादै आकर्षित देखिन्छ ।
काठमाडौंको सिंहदरबारलगायत विभिन्न राणाकालीन दरबारहरूमा रुख कमलको वृक्ष भेटिन्छ । चिल्लो र बाक्लो चौडा पातहरूले रंगिएको हाँगा हाँगामा ठूलो, सेता कमल थपक्क बसेको देखिन्छ । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको यो ‘म्याग्नोलिया’ हाम्रा बगैंचाहरूमा ज्यादै शोभायमान छ । हाम्रो रैथाने नेपाली म्याग्नोलिया घोगे चाँपको नाममा कोशी प्रदेशका वन जंगलमा भेटिन्छ । रूखका पातहरू सबै झरेको अवस्थामा सेता फूलहरू शंख आकारमा हाँगाभरि फुलिदिन्छ । हाम्रा वनमा ८ प्रकारका म्याग्नेलियाहरू फुल्दछन् । तिनलाई चाँप, सुनचाँप, वन कमल, भालुकाठ आदि विभिन्न स्थानीय नामले चिनिन्छ, तर हाम्रा बगैंचाभित्र भित्र्याउने चेष्टा कहीं भएको देखिँदैन ।
नेपालको वानस्पतिक वैभवमा ६ हजार पाँच सयभन्दा बढि फूल फुल्ने वनस्पतिको अभिलेख छ । तीमध्येबाट ६५ वटा शोभनीय नेपाली बिरुवाहरूको विवरण ‘फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल’ ले वनस्पति विभागसँग मिलेर २०७४ सालमा प्रकाशित गरेको छ । वनस्पति विज्ञहरू कुवेरजंग मल्ल, दीपक लामिछाने, द्रोणराज काफ्ले, डा. उमेद पुन तथा दिलीप वादेको यो प्रयासलाई बाग–बगैंचा र उद्यानहरूमा फुलाउन सक्नुपर्छ, अन्यथा नेपालका वनभित्र मात्रै फुल्छ ।
रंगीचंगी वसन्त छिप्पिन थालेको छ । हाम्रो सहरी क्षेत्रका बारी, बगैंचा, पार्क, उद्यान, ठूलठूला भवन तथा दरबार क्षेत्रहरूमा फुलेका फूलहरूमा विश्व नजर हुन्छ, तर नेपाल देखा पर्दैन । पुष्प सम्पदामा विश्वको २.२ प्रतिशत फूल फुल्ने वनस्पतिले सम्पन्न यो राष्ट्रको पुष्प दरिद्रताप्रति नेपालीले चासो र चिन्ता लिन विलम्ब गर्नु हुँदैन ।
राष्ट्रिय वनस्पति उद्यानको स्थापना इतिहास पनि ६० वर्षभन्दा पुरानो भइसक्यो । स्थापना अनुरूप लगानी र लगनशीलता भयो वा भएन ? गम्ने बेला आएको छ । पुष्प एवं नर्सरीहरूको घुइँचो लाग्छ । हजारौं फूल त्यहाँ फुल्छन्, तर वनमा फुलेको देखिन्न । देखिन्छ त प्रत्येक वर्ष नेपालमा चैतमा फुल्छ तर वनमा मात्रै फूलेको । बजारमा र बगैंचामा भने ब्राजिलमा फुल्छ, मेक्सिकोमा फुल्छ । अमेरिका, युरोप, अस्ट्रेलिया अनि चीन र जापानमा पनि फुल्छन्, तर नेपालमा फुल्दैन, हिमालय फक्रँदैन । अब बगैंचामा पनि नेपाल फुलाउन सकौं भन्ने शुभकामना छ– २०८१–०९० को दशकलाई ।

(लेखक वनस्पतिविद् हुन्)

कोसेली

जीवन अन्ततः प्याज रहेछ

- खगेन्द्र संग्रौला

 

आन्दोलन र क्रान्तिको संग्रामी शृंखलाबाट उदाएको गणतन्त्र नेपालमा अनपेक्षित उल्का भयो । जो न कुनै शक्तिकेन्द्रको निकट छ, न प्रिय छ, जो न कुनै शक्तिपीठको भक्त छ, न कृपार्थी छ, जो न कुनै जंगीको शीर्षस्थ हाकिम हो, न हो निजामतीको शीर्षस्थ पुरुष, जो न कुनै दीर्घायुयुक्त शतक पुरुष हो, न हो कुनै लाठेदलको अधिपति, जो न कुनै धनाढ्य कुबेरपति हो, न हो कुनै फिल्मी चटके अभिनयकर्मी, उल्का
भयो ! यो कोही न कोहीको जीवनी लेखियो ! त्यो पनि केवल सतहत्तर लाग्दो अल्प उमेरमा, अझ त्यसमाथि जिउँदै छँदा ! सर्वत्र सनातनी वर्चस्वशाली वर्गको एकाधिकार व्याप्त जीवनमा यो साँच्ची नै उल्का भयो, अनपेक्षित उल्का ! यो उल्काका प्रायोजक हुन् दीपक भेटवाल, जसले खाडी जगत्को भावर बगरमा तर्तरी पसिना बगाउँदै केही पैसा कमाए र त्यसको एक अंश यो उल्कामा लगाए । यो उल्काका लेखक हुन् उज्ज्वल प्रसार्इं, जसले पाँच वर्षको कष्टसाध्य यत्नद्वारा एक साधारण मनुवाका जीवनको शोधखोज र उत्खनन गरी यो उल्काको रचना गरे । र, यो उल्कालाई छापेर लोकछउ पुर्‍यायो बेलाबेला यसो केही छाप्ने ‘बेला प्रकाशन’ ले ।

मेरो जीवनी लेख्ने प्रसंग जब उठ्यो, त्यसमा मलाई खासै रुचि भएन । कारण, मलाई लाग्यो– आफ्ना बहुविध संस्मरणमा मैले आफूबारे यावत् कुरा लेखिसकेको छु । त्यसैले अब लेख्न बाँकी छ नै के ? जीवनी लेखनका नाउँमा उही बासी विषयलाई अलि भिन्न भाषा–शैलीमा दोहोर्‍याएर पाठकगणलाई ठग्नु किन ? तर प्रायोजक, केही अनन्य मित्र र प्रकाशकको अनुरागयुक्त जिद्दी मत्थर भएन । यो अथक जिद्दीले भनिरह्यो— लेख्ने हो । जीवनको अन्तरकुन्तरमा लेख्न छुटेका कुरा कतिकति होलान् । तिनलाई पहिल्याएर, जीवनका केस्राकेस्रा केलाएर लेख्ने हो । नयाँ कोणबाट, नवीन शैलीमा, नूतन बान्कीमा । यसरी नयाँ, नवीन र नूतनको मीठो कल्पना त गरियो, तर यो मनचिन्ते कल्पनाले यथार्थमा साकार रूप लेला कसरी ? मेरो चित्तमा सन्देह यथावत् रह्यो ।

बोलकबोल दुई वर्षमा लेख्ने थियो, गर्दै भन्दै जाँदा जीवनी लेखिसकियो पाँच वर्षमा । जीवनीको अन्तिम खेस्राको अधिकांश अंश जब किस्ताकिस्ता गरी लेखकको सस्वर वाचनमा सुनें, म चकित भएँ । त्यसो त सुन्ने अन्य जनहरू पनि मैझैं चकित भए । चकित, चमत्कृत र पुलकित । जीवनी लेखन प्रक्रियामा उज्ज्वल प्रसाईंले आफ्नै कौशलको पुनःआविष्कार गरेछन् । लेखन, पुनर्लेखन र पुनः पुनर्लेखनको झन्झटिलो प्रक्रियामा उनले यस्तो भाषा–शैलीको सिर्जना गरेछन्, जसले जीवनीभरि आख्यानको स्वाद भरेको छ । यो पढ्दा लाग्छ, सनातनी शैलीको जीवनी नाउँको एकालापयुक्त आत्मकथा होइन, जीवनीको औतारमा बडो सुरुचिकर आख्यान पढिँदै छ । यो आख्यानमय जीवनीमा मूलतः मेरो समयको कथा छ— न्यायमुखी सामाजिक घर्षण, गर्जन र उथलपुथलले भरिपूर्ण मेरो समयको कथा । र, समयको विराट् क्यानभासमा एउटा सानो मान्छेलाई स्थित गराइएको छ, कतै समयको मूल प्रवाहमा, कतै समयको किनारमा । त्यो सानो मान्छे मै हुँ ।

जीवनी विमोचनको दिन यो जीवनीमा उद्घाटित विषय, त्यसको अर्थ र महत्ताबारे विद्वान्–विदूषीका मुखारविन्दबाट सुन्दा मलाई लाग्यो— उज्ज्वल प्रसाईंले मलाई ढल्कँदो उमेरमा बस्ने एउटा खास्साको चौतारी बनाइदिएछन् । त्यस्तो चौतारी, जहाँबाट अतीततिर फर्केर हेर्दा इतिहासमा आफूले यात्रा गरेका नागबेली बाटाहरू देखिन्छन् । र, देखिन्छन् त्यो कतै टड्कारो र कतै किरिङमिरिङ बाटोमा अंकित आफ्ना पदचिह्नहरू, यात्राका आरोह र अवरोहहरू, जय र पराजयहरू, अडान र विलचनहरू, विचार र कर्मका संगति र असंगतिहरू, दृढता र पलायनहरू, साहस र कायरताहरू आदि । शंकर लामिछानेले जीवनका ज्ञात र अज्ञात, दृश्य र अदृश्य, अन्तरंग र बिराना पाटाहरूको जन्जाललाई प्याजका पत्रहरूसँग दाँजेका छन् । जीवनको एक पत्र उक्कायो, अर्को पत्र आउँछ । अर्को पत्र उक्कायो, झन् अर्को पत्र आउँछ । झन् अर्को पत्र उक्कायो, झन्झन् अर्को पत्र आउँछ । र लाग्छ, पत्रहरूको यो अन्तहीन क्रम कहींकतै टुंगिँदैन ।


यो जीवनीमा उज्ज्वलीय दृष्टिबाट उद्घाटित मेरो जीवनका पत्रपछिका पत्रहरू देख्दा मलाई लाग्यो— मेरो जीवन म आफैंले सोचेको, बुझेको र सुनाउँदै हिँडेको भन्दा कतिकति धेरै पत्रहरूको जटिल जन्जाल रहेछ । यो जञ्जालबीच मेरा आफ्नै आँखाबाट ओझेल परेका, मैले महत्त्वहीन ठानेका, बेवास्ता गरेका, समयको क्रममा विस्मृत भई मस्तिष्कको नेपथ्यमा थन्किएका वा आफूलाई ‘राम्रो म’ देखाउन शब्दहरूको मायावी आवरणभित्र ढाकछोप गरिएका जीवनका पत्रहरू मेरा आँखासामु जीवन्त एवं गतिमान् भए । र मलाई लग्यो, जीवन त असलमा रंगहरूको विछट्टको इन्द्रधनुषी संगम पो रहेछ ।
जीवनीमा चित्रित मेरो जीवनको जटिल जञ्जालमा जीवनका विविध पत्रहरू दृष्टिगोचर हुन्छन् । समयका पत्रहरू, प्रेमका पत्रहरू, नानाओली घटनाओलीका पत्रहरू, संलग्नताका पत्रहरू, भक्तिपथ र वागीपथबीचको संघर्षका पत्रहरू, बन्धित चिन्तन र निर्बन्ध चिन्तनबीचको द्वन्द्वका पत्रहरू, न्यायमुखी पक्षधरताका पत्रहरू, विवाद र प्रतिवादका पत्रहरू, घर्षण र ठोकठाकका पत्रहरू, संघसंस्थामा प्रवेश र परित्यागका पत्रहरू, एकपछि अर्को अभियानी यात्राका पत्रहरू आदि । उज्ज्वल प्रसाईंले मिहिन शोधद्वारा उजागर गरेका थरीथरीका यी पत्रहरूउपर गम खाँदा मलाई लाग्यो— गाँठ्ठे, जीवनीमा अरू थुप्रो पत्रहरू छुट्न गएछन् ! यहाँनेर बडो प्रसन्न मुद्रामा मैले आफैंलाई भनें— भाइ, जीवन बडो रोचक छ !

बर्बर सरकारले बासउट्ठा गर्न लागेका सुकुम्बासीजनको जुलुसमा हाजिर भई एउटा रेस्टुराँमा बसेका थियौँ हामी दुई भाइ— मित्र सविन निङलेखु र म । खासमा भावलोकमा हामी मेरो जीवनीरूपी चौतारीमा बसेका थियौं । अगाडि टेबुलमा बियरका गिलास थिए, हाम्रा आँखा फर्केका थिए दूर अतीततिर । बियरको चुस्की लिँदै सविनले जीवनीमा अंकित मेरो जीवनका दुईवटा पत्र कोट्याए । एउटा पत्र थियो– लिंगभेदी पितृसत्ताको र अर्को पत्र थियो– नस्लभेदी राष्ट्रवादको । सविनले सविनय सोधे— ‘दाइ, यी दुई विषयमा दुनियाँसामु यसरी बोल्न तपाईंलाई डर लागेन ?’ डरै त होइन, तर मलाई एकदमै असहज भने अवश्य लागिरह्यो । खासगरी लिंगभेदी पितृसत्तासँग गाँसिएको मेरो संस्कारगत रोगबारे बोल्न मलाई साँच्ची नै असहज लाग्यो । मेरो यो कुरूप भावनाको पोल खुल्दा छोरी डेजीलाई कस्तो लाग्ला ? तिनका दृष्टिमा म बाबुको अनुहार कस्तो देखिएला ? यो विषयमा मैले कतै छिसिक्क लेखेको थिएँ । घटनाको सप्रसंग व्याख्यासहित मैले पहिलो पटक सुनाएको जीवनीकार उज्ज्वल प्रसाईंलाई हो । यो त्यस्तो घटना हो, जसलाई सम्झँदा अझै फनि अवशादयुक्त क्लेसको करौंतीले मेरो हृदय र्‍याइँर्‍याइँ रेटिन्छ । हो, छोरीको मानवीय गरिमालाई त्रूरतम उपेक्षासाथ धूलोमा मिलाउने घटना हो यो ! घटना यस्तो छ । जीवन–संगिनी जमुनाको कोखमा गर्भ रह्यो । र, दुई हातले अड्कल्दै उनले सगर्व भनिन्— ‘म यत्रो छोरो पाउँछु ।’ उनको यो भनाइको गाढा छाप मेरो मनमा परेको हुँदो हो । तर, योभन्दा बढी कुरो पितृसत्ताले ठोकीठोकी, गाँजीगाँजी मेरो मथिंगलमा थोपरेको लिंगभेदी संस्कारको छाप थियो । कीर्तिपुरमा एकवर्षे सेवाकालीन बीएड पढ्दै थिएँ म । एक दिन भोटाहिटीमा बरालिँदै थिएँ, बन्दीपुरवासी मित्र चीजकुमार पिया भेट भए । हर्षमय स्वरमा तिनले सुनाए— ‘सर, जमुना दिदीले छोरी पाइन् ।’ छोरी रे ? हठात् मेरो मथिंगलमा मानौं हेमानको घन बज्रियो । हँ ! छोरी रे ? मेरो मनै अँध्यारो भयो । मेरो यो लिंगभेदी भाव मैले आजसम्म जमुनालाई भनेको छैन । छोरी डेजीलाई त झन् भन्ने कुरै भएन ।
२०३२ सालको कुरा हो यो । त्यो बेला म मार्क्सवादी लाल चिन्तनको विद्यार्थी भइसकेको थिएँ । सोभियत र चिनियाँ साहित्यमा महिला जागरण, महिला समानता र महिला मुक्तिबारे मैले थुप्रो कुरा पढिसकेको थिएँ । मेरो त्यो पठन केवल हाँसका पखेटामा पानीसरह भएछ । मेरो संस्कारमा गडेर बसेको विकार अझै जब्बर रहेछ । आखिर मेरो संस्कारमा यो विकार आयो कहाँबाट ? दस दाजुभाइमध्ये कान्छा थिए मेरा साना कान्छाउ । उनको छोरो मभन्दा दुई दिन जेठो थियो । त्यो मेरो दाज्यै सिंगल जाइफलवाले थियो । निजको सिंगल जाइफल थियो लोहोरोभन्दा ठूलो । साना कान्छाउको विशाल जाइफलधारी यो छोरो लठेब्रो थियो । त्यसैले साना कान्छाउलाई यो असार संसारमा जीवनको साररूपी छोरो चाहिएको थियो । साना कान्छाउलाई छोरो पाइदिने आसमा सानीकान्छी आमा छोरीपछि छोरी पाइरहिन् । सातौं छोरी जन्मेपछि सानाकान्छाउले भनेछन्— ‘छोरी पाउने नाथेलाई खान दिनु पर्दैन ।’ सानाकान्छाऊको त्यो त्रूर वचन एक कान दुई कान मैदान हुँदै गाउँका आइमाईहरूमाझ फैलियो । र, तिनले भनेको सुनियो— कत्रा दुःखले पेट बोक्नु, असह्य पीडा खपेर सन्तान जन्माइदिनु, अनि यसरी दुर्वचनको तारो बन्नु, अहो ! आइमाईको चोला ! लिंगभेदी फितृसत्ताको चरम् त्रूरताको एक जघन्य दृष्टान्त हो यो ।
रमरम चेत आएदेखि नै मैले घरमा पितृसत्ताले छोरीमाथि गर्ने विभेदका अनेक रूप देखेँ । छोरो घरभित्रको काममा सिन्को भाँच्दैन, छोरी हातखुट्टा लागेदेखि नै आमालाई कामधन्दा सघाउँछे । छोरो अँगेनाका डिलमा आगो तापेर बस्छ, छोरी स्युस्यु काम्दै गाग्रीमा पानी ओसार्छे, भुइँमा कुचो लाउँछे, लिपपोत गर्छे । छोरो भात खाएर थपक्क चुठ्छ, छोरी उसको जुठो थाल माझ्छे । छोरी लुगा धुन्छे, छोरो गुलेली बोकेर हल्लिँदै कतै झ्यासतिर लाग्छ । छोरी मल बोक्छे, छोरो खेप्पी खेल्छ । छोरी बाख्रा चराउन जान्छे, छोरो इस्कुल जान्छ । छोरो जनै र लगौँटी भिरेर टुप्पी हल्लाउँदै जातोत्थान भई माथि चोखो चुलोमा उक्लिन्छ, बिहा नभएकी सानो जातकी उसकी दिदी तल बिटुलो मझेरीमा ठेउलिन्छे । कथित कर्म चलेको छोरो दिदीका हातको भात खाँदैन । खाए उसको जनैधारी जात जान्छ । घरमा छोराको महात्म्य नित्य सुनिन्छ । छोरो भए बूढेसकालमा तातो पानी ख्वाउँछ । छोरो भए मर्ने बेलामा मुखमा सुनपानी चुहाउँछ । छोरो भए मृत्युपछि गौदान गरी वैतरणी तारिदिन्छ । अनि छोरी ? छोरीको त कुनै वस्तु दान गरेझैं कन्यादान गरिन्छ । छोरो पैत्रिक सम्पत्तिको उत्तराधिकारी बन्छ, बाबुका चित्तमा दया जागे छोरीले केवल आनासुकी दाइजो पाउँछे । यी सब विभेदकारी व्यवहारको अर्थ हो— छोरो श्रेष्ठ हो, छोरी तुच्छ । छोरो मूल्यवान् हो, छोरी मूल्यहीन । छोरो सम्पत्तिको मालिक हो, छोरी हो सदा आश्रित । बिहाअघि बाबुको घरमा आश्रित, बिहापछि लोग्नेको घरमा आश्रित । छोरो गृहस्वामी हो, छोरी हो गृहदासी । बिहाअघि बाबुको घरकी दासी, बिहापछि लोग्नेको घरकी दासी । यही विभेदकारी संस्कृतिको परम्परा, रीतिथिति र कर्मकाण्डका कोर्राले मस्तिष्कमा ठोकीठोकी, गाँजीगाँजी थोपरेको पितृसत्ताको मनोरोगको सिकार भएको थिएँ म । मबाट भएको अबोध छोरीको अस्तित्वको तिरष्कार र अस्मिताको अस्वीकृति यही विभेदकारी पितृसत्तात्मक संस्कृतिको विकारयुक्त डकार थियो । थोरै जान्नेसुन्ने भएदेखि नै पितृसत्ताले थोपरेको यो मनोविकारविरुद्ध म जिन्दगीभरि लडिरहेको छु । तैपनि नसानसामा, रगतका कणकणमा गडेर बसेको यो रूढिगत संस्कारको डकार अन्जानमै अझै आइरहन्छ । उज्ज्वल प्रसार्इं निर्मित मेरो अतीतको ऐनामा यो कुरूप संस्कारको प्रेतको झल्को यदाकदा अझै दृष्टिगोचर भइरहन्छ ।

सविन निङलेखुको अर्को जिज्ञासा छ— के राष्ट्रवाद सहदेशवासीद्वेषी मनोविकार हो भनी प्वाक्क भन्न मलाई डर लाग्यो ? के राष्ट्रवाद भावनात्मक विखण्डनको कारक हो भन्न मलाई डर लाग्यो ? अर्को शब्दमा, के म राष्ट्रवादी होइन भन्न मलाई डर लागेन ? डरै त उतिसाह्रो लागेन, तर यो सत्यको सार्वजनिक स्वीकारोक्ति मेरा लागि सहज भने निश्चय नै भएन । जीवनमा निकै समय राष्ट्रवाद मेरो पहिचान र प्रतिष्ठाको प्रतीक बन्यो । मेरो आत्मसम्मान र आत्मगौरवको द्योतक बन्यो यो । मानौं राष्ट्रवादी हुनु अस्सली र गौरवशाली नेपाली हुनु हो । मानौं राष्ट्रवादी हुनु पौरखी पुर्खाको अस्सली उत्तराधिकारी हुनु हो । मानौं राष्ट्रवादी कहलिनु जीवनको एक सान हो, एक गौरव हो, एक शोभा हो, एक आभूषण हो । पहिचान बनाइदिने र प्रतिष्ठा बढाइदिने यस्तो गुनिलो चीजलाई मनोविकार भनी ठोकुवा गर्नु सजिलो कुरा कहाँ हो र ? मलाई जगत्ले सुन्ने गरी यो भन्न जति गाह्रो भयो, यो कटु सत्यबोध गर्न त्योभन्दा धेरै नै गाह्रो भयो । निर्मम आत्म–मन्थन, आत्म–समीक्षा र कठोर आत्म–संघर्षपछि जब मलाई यो सत्यबोध भयो, त्यही बोधको शक्तिले मलाई यो भन्न साहस दियो ।

छोरीको अस्तित्व र गरिमालाई पूरापूर नकार्ने मनोराग रूपी मेरो भावना जगत्छेउ उजागर गर्न मलाई जति सकस भयो, राष्ट्रवादमा अन्तर्निहित मनोरोगको भन्डाफोर गर्न मलाई त्यति सकस भने भएन । यसो हुनाका कारण छन् । यो राष्ट्रवाद बन्धुद्वेषी हो भनी स्वीकार गर्दा मेरो कुनै अवसर गुम्ने कुरा थिएन । कारण कसैले प्रदान गर्ने कुनै अवसरको आकांक्षी वा याचक म थिइनँ । राष्ट्रवाद भावनात्मक विखण्डनको हानिकारक कारक हो भन्दा ममाथि ओइरिने फत्तुरहरूको मलाई कुनै चिन्ता थिएन । कारण मैले सत्य बोल्दा राष्ट्रवादीले मलाई राष्ट्रघाती भनोस्, मलाई के फरक पर्छ ? राष्ट्रवाद अहंकार र संकीर्णताको द्योतक हो भन्दा राष्ट्रवादीले मलाई तँ कतैका कसैको दलाल होस् भनोस्, मलाई के फरक पर्छ ? राष्ट्रवाद ‘राम्रो म’, ‘नराम्रो तँ’, ‘चोखो म’, ‘बिटुलो तँ’, ‘रैथाने मौलिक म’, ‘आयातीत भतुवा तँ’, तसर्थ ‘म दाता’, ‘तँ याचक’, ‘म अधीनकारी’, ‘तँ अधीनस्थ’ आदि रटहरूको बर्बराहट हो । यो अमानवीय बर्बराहटलाई अस्वीकार गर्न म आँट गर्छु भन्दा कोही मसँग रिसाओस्, आक्रोशित होओस् र उसले ममाथि भर्त्सनाको ओइरो लगाओस््, मलाई के फरक पर्छ ? मैले कसैका अगाडि पद, पैसा, प्रतिष्ठा, पगरी, पुरस्कार, प्रशंसा आदिको याचना गर्नु छैन भने सत्य बोल्दा कोही मसँग क्षुव्ध होओस्, मुर्मॅरियोस्, दाह्रा किटोस् उसले मउपर विष वमन गरोस्, मलाई के फरक पर्छ ?

हामी दुई भाइ अझै उही रेस्टुराँमा बियरको चुस्की लिँदै बसेका थियौं— मित्र सविन निङलेखु र म । अतीतमा आफूले हिँडेका बाटा हेर्दै, ती बाटामा अंकित आफ्ना पदचिह्नहरू नियाल्दै । र, तिनका अर्थहरू उपर गम खाँदै । सविनले कुरैकुरामा लिंगभेदी पितृसत्ताले आफ्नो मानसमा थोपरेको सढाउ संस्कारको प्रसंग कोट्याए । सविनकी छोरीको जन्म भएछ । कोही आफन्तले छोरी जन्मिँदा तिमीलाई कस्तो लाग्यो भनी जिज्ञासा प्रकट गरिछन् । प्रत्युत्तरमा सविनले भनेछन्— ‘मलाई पनि खुसी त लाग्यो तर.....!’ आफ्नै मुखबाट निस्केको यो ‘तर’ देखि तर्सिंदै सविनले आफ्नो वचन–प्रवाहमा झ्याप्प ब्रेक लगाएछन् । ‘तर’ पछि भन्न बाँकी रहेको आफ्ना मनको भेदभावकारी भाव सम्झेर उनलाई त्यसैत्यसै डर लागेछ । आखिर के थियो ‘तर’ पछिको त्यो अप्रकट भाव ? त्यो थियो, ‘तर, मलाई बुढसकालको सहारा... !’ मतलब सविनलाई कसैको घर जाने छोरी होइन, सधैं आफ्नो घरमा, आफूसँगै बस्ने छोरो चाहिएको थियो । छोरो अर्थात् ‘बुढेसकालको सहारा !’ सविनको यो लिंगभेदी मनसाय आजसम्म कसैका कानमा परेको रहेनछ । किन ? उनकै शब्दमा, ‘डरले !’ डर आखिर केको ? छोरीका चित्तमा बाबुको यो कुरूफ र त्रूर लिंगभेदी मनसायबाट हुने बज्राघातको डर । लोकदृष्टिमा आफ्नो छवि कलंकित होला र आफ्नो नैतिक नाक काटिएला भन्ने डर । म नारीवादी हुँ भन्न रुचाउने सविनको भन्डाफोर होला भन्ने डर । सायद पितृसत्तात्मक रूढ परम्पराद्वारा बलात् थोपरिने लिंगभेदी मनोरोगबाट आक्रान्त हरेक पुरुष मनको पन्तुरोमा यस्ता थुप्रै डर लिएर हिँडिरहेका हुँदा हुन् । मलाई लाग्छ, लोकछेउ यी डरका कारणहरूको हाक्काहाक्की पोल खोल्ने आँट गर्नुमा नै भयमक्तिको आशा निहित छ ।

मेरो ओछ्यान नजिकको टेबुलमा उज्ज्वल प्रसाईं लिखित मेरो जीवनी छ । यो जीवनीमा उज्ज्वलनिर्मित असल चौतारी छ, जसमा बसेर आफ्नो अतीतलाई नियाल्दै लोकलाई मैले सुनाउन बाँकी यस्ता कष्टमय पुनःसंस्कारका अनुभवहरू अरू पनि छन् । हेरूँ, समय र जाँगरले के भन्छन् ।

Page 10
कोसेली

कोपिला भ्यालीमा अमेरिकी आमा

- गंगा बीसी

 

अमेरिकाको न्युजर्सीमा एक युवती बिहान खाजा खाने बेला बुवा–आमासँग भन्छिन्, ‘म एक वर्ष कलेज ग्याप गर्न चाहान्छु । असल मान्छे हुने प्रयास गर्छु । छातीमा स्वतन्त्र जोस लिएर साहसिक काम गर्न चाहन्छु ।’ यो सन् २०१५ को कुरा हो । मास्कुले जीवनमा गणितलगायत विषयले आकर्षण नगरेपछि एक युवतीले बुबाआमा समक्ष यो प्रस्ताव राखेकी थिइन् ।
भ्रमणबाट पहिलो समेस्टरमा १७ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीका कार्यक्षेत्रमा सांस्कृतिक पूर्वअभ्यासबाट प्रयोगात्मक ज्ञान लिनुपर्थ्यो । त्यसका लागि कक्षा कोठाको पर्खाल बाहिर जानुपर्ने थियो । पहिलो समेस्टरको भ्रमणमा उनकी साथी हानाले कलेज सुरु हुनुअघि सँगै भारत जाने प्रस्ताव गरिन् । उनी हानासँग भारत गंगाको तट ऋषिकेश रामनाको गार्डेन स्कुलमा पुग्छिन्, जहाँ माओवादी सशस्त्र युद्धका बेला मानव तस्करी, दुर्व्यवहारमा परेका र बेवास्ता गरिएका बालबालिकाको आश्रय घर थियो । बालबालिकाको त्यो अवस्था देखेर ती किशोरीलाई अमेरिका फर्कन मन लागेन । साथी हाना भने अमेरिका फर्केर कर्नेल विश्वविद्यालय पढ्न सुरु गरिन् । ती युवती भने केही महिना वेचिएका, दुर्व्यवहारमा परेका र अलपत्र पारिएका बालबालिकाको सेवामा लागिन् । उनी अर्थात् म्यागी डोयन्ले नेपाली बालबालिकाको माया भुल्न सकिनन् । उनी कर्णाली प्रदेशको सुर्खेतमा दुर्व्यवहारमा परेका, अनाथ, अलपत्र बालबालिकालाई निःशुल्क गुणतरीय शिक्षा दिन कोपिला भ्याली स्कुल स्थापनाको संघर्ष सुरु गर्छिन् । उनले बालबालिकाको शिक्षा, माया, स्याहार र संरक्षणका लागि स्कुल स्थापनामा गरेको कठोर संघर्षको कथा हो– ‘बिटविन द माउन्टेन एन्ड द स्काई ।’
म्यागीले रामनाको गार्डेनमा दैनिक आवश्यक सामग्री जुटाउने काममा खटेका टोप मल्ललाई भेटिन् । त्यहाँ सुनितालाई भेटिन्, जो उनको पहिलो साथी पनि भइन् । उनी नेपालको कुन गाउँबाट त्यहाँ पुगेकी थिइन् ? केही थाहा थिएन । म्यागी र सुनिता नेपाल फर्केर सुनिताको गाउँ खोज्ने निधो गरे र सुर्खेत फर्किए । सुनिताका ठेगाना खोज्न गएका उनीहरूले कर्णालीमा अरु बालिकाको दयनीय अवस्था देखे । त्यही सिलसिलामा उनीहरूले बालिकाको शिक्षाका लागि पहल गर्ने जमर्को गरे । तत्काल खर्च जुटाएर पढ्ने व्यवस्थाले मात्र दीर्घकालीन समाधान दिनेवाला थिएन । विकल्पको रुपमा म्यागीले बालबालिकाका लागि घर र स्कुल बनाउनुपर्ने महसुस गरिन् अनि अमेरिकाका बुवा–आमालाई फोन गरेर पैसा मागिन् । उनको कुरा सन्नेबित्तिकै बुबा–आमाले सुरुमा दिन इन्कार गरे । पवित्र सेवाअघि बुबा–आमा नतमस्तक भए । म्यागीले कलेज पढ्न बाल्यकालदेखि जम्मा गरेको पाँच हजार डलर नेपाल पठाइदिए । त्यही पैसाले उनले पढ्न नपाएका बालबालिकाका लागि सुर्खेत उपत्यकामा एक टुक्रा जमिन किनिन् । उनले देखेको सपनाको कोपिला बल्ल लाग्न सुरु भयो ।
जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा बिभिन्न प्रक्रिया पूरा गरेपछि कोपिला भ्याली नाम रह्यो, जहाँ उनी असहाय बालबालिकाका लागि सुगन्धिन फूल रोप्न चाहन्थिन । किनेको जमिनबीचको उनले सयपत्रीको बिरुवा रोपिन्, आशाको फूल फुलाउने प्रतीक्षा गर्दै । कोपिला भ्यालीमा सुरुमा एक, दुई हुँदै बालबालिकाहरू मुस्काउन थाले ।
स्कुलको नाम त राखियो, तर त्यहाँ भवन बनाउनु थियो । उनीसँग भवन बनाउने पैसा थिएन । सन् २००७ मा उनी अमेरिकाको न्युजर्सी पुगिन्, आमासँग अमेरिकाको ग्यारेज बेच्ने प्रस्ताव गरिन्, दुई हजार दुई सय डलर जुटाउन खुब दौडिइन्, सहयोग मागिन् ।
म्यागीले कोपिला भ्यालीमा आएका बिरामी बालबालिकाका लागि पढाइका साथै उपचार पनि गर्नु थियो । त्यही क्रममा उनी असहाय बालिका जुनताराको उपचार गर्न लन्डन पुगिन् । दुर्भाग्य उनी तिनलाई बचाउन असफल हुन्छिन् । उनको निधनमा जुनताराका नाममा मायाले भरिएको लामो चिठी लेख्छिन् । त्यसबाटै थाहा हुन्छ असहाय बालबालिकाका लागि उनले कति त्याग गरेकी थिइन् । सामान्य उपचार पनि नपाएकी बालिकालाई उपचारकै लागि लन्डन पुर्‍याएर प्रयास गर्दा पनि सफल हुन नसकेपछिको पीडा म्यागीले किताबमा लेखेकी छन् ।
सन् २०१० अक्टोबरमा ‘न्युयोर्क टाइम्स’ का पत्रकार निकोलस क्रिस्टोफले लामो लेख लेखेपछि कोपिला भ्याली चर्चा मात्र भएन, सहयोग पनि जुट्दै गयो । सन् २००७ मा गैरनाफामूलक संस्था ब्लिंक नाउ स्थापना भएपछि कोपिला भ्याली स्कुलको भवन बनाउन बाटो खुल्यो । ब्लिंक नाउबाट सहयोग जुट्न थालेपछि असहाय बालबालिकाका लागि कसरी भवन बन्यो ? म्यागीले संघर्षको कथामा लेखेकी छन् ।
म्यागीले १९ वर्षको उमेरमा आधारभूत आवश्यकता नपाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र उज्यालो भविष्यका लागि रोपेको कोपिला हाल तिनै बालबालिकाको सुन्दर फूल बनेर फुलिरहेका छ, जहाँ चार सय बढी बालबालिकाले कोपिला भ्यालीको सुगन्ध पाइरहेका छन् । कोपिला भ्याली स्कुल स्थापनाका लागि उनले रकम जुटाउनुपर्ने थियो, उनी त्यसको जोहो गर्न न्यजर्सी पुगिन् ।
म्यागीले भेरी नदीको गिट्टी कुटेर गुजारा चलाइरहेकी हिमालाई उद्धार गरी स्कुलमा भर्ना गरेकी थिइन् । हिमाबाट सुरु भएको असहाय बालबालिका र महिलालाई स्वास्थ्य उपचार दिन थालेको सेवामा हाल चार सय बढी पुगेका छन् । कोपिला भ्यालीमा बस्ने पहिलो बालिका निशाका लागि संरक्षण, शिक्षा र आवासको व्यवस्था गर्न पाउँदा उनलाई स्वर्गीय आनन्द महसुस हुन्छ । हिमा घरेलु नोकरको रुपमा बेचिएकी थिइन् । आफूले नजन्माएका सन्ताानलाई राम्रो शिक्षादिक्षा दिन, गुणस्तरीय जीवनको लागि खानेबस्ने व्यवस्था मिलाउन म्यागीको अभूतपूर्व श्रम र पसिना मात्रै बगेको छैन, मायाको सागरै जम्मा भएको छ ।
कोपिला भ्यालीमा हुर्कंदै गरेको बालक रविको उपचार २०१४ मा अमेरिकामा हुन्छ । उपचारबाट फर्केको केही समयपछि पौडी पोखरीमा डुबेर उनको मृत्यु हुन्छ । उनको मृत्यु म्यागीका लागि कहिल्यै नमेटिने घाउ भएको छ । उनले रविको मृत्युमा गहिरो शोक व्यक्त गरेकी छन् । ‘हामी माथि आकाश खस्न थाल्छ, उसलाई सुनौलो रंगले चम्काएको छ त्यसपछि उसलाई अँध्यारोले तानेर लैजान्छ । म उज्यालोको लागि प्रार्थना गर्छु, तर त्यहाँ कोही छैन’ उनले लेखेकी छन् ‘रवि गए । र, म पनि जान्छु ।’
सन् २०१५ मा सीएनएन हिरो विजेता हुँदा म्यागीले रविलाई सम्झेकी छन् । सीएनएन हिरो हुँदाको खुसी एकातिर थियो, त्यही महिना डिसेम्बरमा रवि गुमाउँदाको पीडा अर्कोतिर । त्यसबेला उनी निकै भावुक बनेकी थिइन् । सीएनएन हिरो विजेता भएपछि कोपिला भ्याली स्कुलको मुहार उज्यालिएको थियो भने रवि गुमाउँदा त्यहाँ निस्पट्ट अँध्यारों छाएको थियो । आफैंले हुर्काएको सुन्दर कोपिला थियो रवि । त्यो कोपिला झरेपछि म्यागीको मनमा गहिरो घाउ लाग्यो । त्यो घाउ निको पार्ने धेरै प्रयास गरेको उनले आफ्नो संस्मरणमा लेखेकी छन् । सन् २०१७ मा कोपिला भ्याली स्कुलबाट पहिलो ब्याच विश्वविद्यालय पढ्नका लागि तयार भयो । त्यहाँका एक विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएपछि म्यागी खुसीले उफ्रिएकी छन् । आफूले नजन्माए पनि कर्म दिने आमा म्यागीको एउटा सपना त्यसबेला पूरा भएको थियो ।
सन् २०१७ मा म्यागी र जर्मीबीच विवाह हुन्छ । त्यसको एक वर्षपछि २०१८ यो दम्पत्तिको छोरी रुबी सनसाइन जन्मिछन् । करिब चार सय बालबालिकाकी आमाकी रुबीचाहिँ जन्माएकी छोरी थिइन् । छोरी जन्मेको बेला पनि उनले कोपिला भ्यालीको संरक्षणमा आएका, तर विभिन्न कारणले मृत्यु भएका बालबालिकाको शोकमै हुन्छिन् ।
एक बालिकालाई संरक्षण दिएर पढाउन सुरु गरिएको कोपिला भ्याली स्कुलमा हाल ५०० विद्यार्थीले प्रि–स्कुलदेखि १२ कक्षासम्म स्वास्थ्योपचार र शैक्षिक मार्गदर्शनसहित गुणस्तरीय निःशुल्क शिक्षा पाइरहेका छन् ।
म्यागीले ‘बिटविन द माउन्टेन एन्ड द स्काई’ मा लेखेकी छन्, ‘नेपालले सुन्दर बालबालिकालाई जन्म दियो, अनि मलाई आमा बनायो ।’
यो किताब एउटी आमाको माया, सन्तान गुमाउनुको पीडा, उपचार र आशाको सँगालो हो, जसले हृदयदेखि नै सेवा–भाव झल्काएको छ ।

कोसेली

पीडाबाट मोक्षको यात्रा

- महेश पौड्याल

 

निबन्ध–फाँटमा धमाकेदार उपस्थिति जनाएकी थिइन् मोमिलाले, २०६३ सालमा ‘ईश्वरको अदालमा आउटसाइडरको बयान’ शीर्षकको ललित एवं आत्मपरक निबन्ध–सङ्ग्रह प्रकाशित गरेर । किताबमार्फत उनले केही अहं प्रश्न र केही महत् जिज्ञासा छोडेकी थिइन् । पश्चिमको अस्तित्ववादी–विसङ्गतिवादी चिन्तनको चुरोमा टेकेर जिन्दगीको निरीक्षण गर्ने मोमिलाले
आफूलाई तमाम सजिला–अप्ठ्याराहरूको
एक्लो योद्धाको रूपमा प्रस्तुत गरेकी थिइन् । मानव समाज त के ईश्वरको अदालतमा पनि आफूजस्ता ‘आउटसाइडर’ माथि न्यायको कुनै पनि संभावना उनले देखेकी थिइनन् । उनको यात्रा निराशाको किनारैकिनारै अनिश्चित गन्तव्यतिर हान्निएको आदि र अन्त्यको टुंगो नभएको एउटा आस्तित्विक यात्रीको भन्दा कुनै पनि दृष्टिले पृथक् देखिएको थिएन ।
‘आउटसाइडरको बयान’, वास्तवमा, प्रश्नहरूको पुञ्ज थियो । उत्तर थिएन । एक्लोपनको र जीवनमा उद्देश्यविहीनताको दस्तावेज थियो । जीवनलाई उज्यालोको भन्दा पनि अँध्यारोको सापेक्षता बढी हेरिएको उक्त दस्तावेज काफ्का र कामुजस्ता अस्तित्ववादीहरूका चिन्तनको नेपाली निरन्तरताजस्तो लाग्थ्यो । सृष्टि, जिन्दगी, मृत्यु र ईश्वरसँग सिधै सिँगौरी खेल्ने आउटसाइडरको हार वा जितको कल्पना गर्नु पनि असम्भव थियो पाठकका लागि । यद्यपि, त्यस काव्यमय र रोमाञ्चकारी द्वन्द्वले दिने आह्लाद र विरेचनको आनन्द भने सबैले सहजै अनुभव गर्ने खालको थियो ।
उक्त किताब प्रकाशनको करिब १७ वर्षपछि मोमिलाको अर्को ललित निबन्ध–किताब आएको छ ‘प्रश्नहरू त बााकी नै रहन्छन्...’ । पुस्तकले फेरि पनि जीवनको अर्थ र महत्तासँग सम्बन्धित प्रश्नहरूको कुनै उत्तर त दिएको छैन, तर जीवनलाई हेर्ने कोण भने बदलेको छ । यहाँ उठाइएका प्रश्न वास्तवमा प्रश्न होइनन्, ती ‘रेटरिकल क्वेसन’ हुन्, र प्रश्नभित्रै तिनको उत्तर निहित छ । हुन पनि, सृष्टि, जीवनको पटाक्षेप र ईश्वरका सम्बन्धमा क्षणभङ्गुर जीवन बोकेर बाँचेको विरोधाभासी मान्छेसँग के नै प्रस्टता हुन्छ र उत्तर दिनु ? तर पनि, यस कृतिमा कृतिकारले जीवनलाई उज्यालोको सापेक्षतामा हेर्ने प्रयास गरेकी छन् । यहाँ आशावादिताको बाहुल्य छ । पृष्ठभूमिमा अँध्यारो, दुःख, विछोड र मृत्यु बोकेर बाँचेको जिन्दगी, मोडहरूमा नृत्यमग्न पनि छ, संगीतमग्न छ । जोन किट्ले भनेजस्तो मान्छेले ‘नेगेटिभ क्यापेबिलिटी’, यानि कल्पनाशक्तिले आफ्नो आहत् यथार्थलाई केही क्षणकै लागि सही स्थगित गर्न सक्छ, र आनन्दको एउटा उपल्लो पडाउमा रमाउन सक्छ । मोमिलाका निबन्धहरू यसै कल्पनाशक्तिको जगमा उत्सवमय बनेका छन् ।
निबन्धहरू दुई खण्डमा विभाजित छन् — ‘अस्तित्व उत्सव’ र ‘संवेदनहरू’ । ‘अस्तित्व–उत्सव’ खण्डमा चौधवटा निबन्ध छन्, र ती तर्कहरूमा उभ्याएका मस्तिष्कभेदी प्रस्तुति हुन् । यी निबन्धहरूमा सर्जक मोमिलाले जीवनसँग गाँसिएर आएका, तर बढारेर फाल्न नसकिने छाया, दुःख र मृत्युजस्ता अपरिहार्य अँध्याराहरूसँग कसरी उत्सवमय भएर बाँच्ने भन्ने प्रश्नमा
आफ्ना बुझाइ प्रस्तुत गरेकी छन् । ‘मेरै छायाको विद्रोह र अस्वीकृत ग्रहण’ मा उनी इतिहासका काला पाटाबारे चिन्तनशील छिन् । तर, मान्छेको विगतसँग गाँसिएर आएको इतिहासबाट मान्छे सर्वथा मुक्त हुन सक्तैन । त्यसैले, दुःखसँग लडेरै दुःखबाट मुक्ति पाउन सकिन्छ भन्ने उनको तर्क छ, र यो सत्य पनि हो । आफ्नै इतिहासको पृष्ठभूमिमा उभिएर, इतिहासको कालो पाना नदोहोरिने गरी नयाँ इतिहास निर्माण गर्ने उनको ध्येय छ, जससँग सहजै सहमत हुन सकिन्छ । उनको प्रस्ट घोषणा नै छ — ‘इतिहास वर्तमानको सहुलियतमा टुंगिनु हुँदैन ।’
निबन्धकार मोमिलाले सिर्जना र चिन्तनको उज्यालोलाई पनि मृत्यु र अनिवार्य छायाजस्ता अँध्यारा अनुभवहरूकै सापेक्षतामा हेरेकी छन् । ‘देवकोटासँग एउटा साँझको कायान्तरण’ मा उनले महानतम् सिर्जनाहरू दिएर पनि देवकोटोले आफैँलाई क्रमशः मृत्युतिरै धकेल्दै लानुको आस्तित्विक व्याकरण केलाएकी छन् । ‘कलाको जोखिम उठाउने’ देवकोटाको उक्त हठप्रति निबन्धकार मोमिला नतमस्तक छिन् । त्यस्तै, गायक फत्तेमानले पनि सुखका भन्दा पनि दुःखका गीत गाएर नै शीतबिन्दुको सौन्दर्य निर्माण गरेको उनको ठम्याइ छ ।
प्रथम खण्डका निबन्धमा मोमिलाले लैंगिक यथार्थ र सुख–दुःखको सन्तुलनमाथि आफूलाई खुलेरै प्रस्तुत गरेकी छन् । सर्जक लिंगनिरपेक्ष हुँदाहुँदै पनि सर्जकले बाँकेको मानवीय काया भने लिंग–सापेक्ष हुन्छ नै । पितृसत्तात्मक नेपाली समाजमा जन्मे–हुर्केकी मोमिलासँग पनि नारी भएकै कारण पटकपटक विभेदको सिकार हुनुका अनुभव छन् । यी अनुभवको प्रतिध्वनि उनका यस खण्डका कतिपय निबन्धहरूमा परोक्ष रूपमा अभिव्यक्त भएका छन् । ‘नायकको भूमिकामा उनी...’ शीर्षकको निबन्धमा उनले कुनै नारीलाई आफ्नो जीवनको नायकको रूपमा कल्पना गरेकी छन् । भन्छिन्, ‘कठपुतली आफ्नै हातले भाँचेर आगो बालिसकिन् । किनकि उनी अब खिया लागेको शास्त्रीय बन्धनबाट मुक्त आफ्नै जिन्दगीको प्रवाहलाई निजी स्वप्नको पवित्रता एवं आफ्नै उज्यालो संवेदनाभन्दा पनि बढी नजिकबाट माया गर्न थालेकी छन् ।’ ‘सम्भावित पुलतीको वर्तमान’ मा उनी आफ्नै बाल्यकालमा फर्किएकी छन्, र आफ्ना वरिपरि खडा गरिएका निषेधका पर्खालहरूलाई प्रश्नवत् स्मरण गरेकी छन् । ‘प्रिय पात्रहरू अस्तित्व–उत्सवमा १’ शीर्षक निबन्धमा उनका आमन्त्रिहरू सबै नारी हुन्— इब्सेनकी नोरा, विजय मल्लकी अनुराधा र आफ्नै अल्टरइगो, यानि आउटसाइडर । उनी महिला स्वतन्त्रता र अस्तित्वका प्रतीक यस्ता नारी पात्रहरूको आत्मविश्वसपूर्ण उपस्थितिको कल्पना गरिरहेकी छन् । लैंगिक समानताको पक्षमा मोमिलाको यो क्रुसेड उनको निबन्धकारिताको एउटा परिचायक स्वभाव हो ।
मोमिलाका निबन्धहरूभित्रको पात्र दुःखबाट कहिल्यै भाग्दैन । भयपूर्ण छ भन्दैमा मृत्यसँग डराउँदैन । बरु, दुःख र मृत्युको सीमान्त बिन्दुबाट जिन्दगीको सम्मोहक सौन्दर्यकै अवलोकन गर्छ । ‘मृत्यु सौन्दर्य’ मा उनी लेख्छिन्, ‘मृत्युको पृष्ठभूमिमै गुलाफका पत्रदलहरूको रंग र
भंगिमा बदलिरहने रोमाञ्चक शास्त्रीय नृत्यसरि मलाई उही जिन्दगीको सम्मोहनले तानि नै रहेछ....’ समग्र जिन्दगीलाई नै चट्टान र फूलको दोहारी मान्ने उनी, फेरि पनि, फूलकै पक्षमा मतदान गर्न उभिएकी छन् । यो सकारात्मकता उनको निबन्धकारितमा आएको एउटा स्पष्ट परिवर्तन हो ।
मोमिलालाई काल्पनिक स्वर्गभन्दा दुःखपीडा र मृत्युका कहरसहित उभिएको धरती नै प्रिय छ । स्वर्गको ग्रिनकार्ड च्यातेर, ईश्वरलाई नै चुनौती दिएर धरतीतिर फर्किएको उनीभित्रको हठी धरतीप्रेमी पात्र भन्छ, ‘भूल नै सही अब यही संसारमा माया, प्रेम, प्रीति, स्नेह, सद्भाव बाँड्नु छ । यो जीवनको, यो संसारको सुन्दरतम् कवितालाई महसुस गर्नु छ ।’ अर्को एक निबन्ध ‘प्रातःकाल हुनुअघि’ मा उनी भन्छिन्, ‘तर जूनतारा त आकाशलाई नै सुहाउँछ क्यारे । यस अर्थमा बरु, सुनको थालीमा जूनको चहक भरेर प्रातः हुनुअघि नै म धर्तीमै ओर्लने मन गर्छु ।’ ‘प्रश्नहरू त बाँकी नै रहन्छन्...’ मा उनको प्रस्ट घोषणा छ— ‘तर, मलाई कुनै स्वर्ग चाहिएन । मलाई तिमीले मानेको नरकरूपी आफ्नै धरतीको दुःख प्यारो छ ।’ धरती र जीवनको पक्षमा यो नै मोमिलाको बोटमलाइन हो ।
दोस्रो खण्ड, यानि ‘संवेदनहरू’ मा छोटा–छोटा ९ वटा निबन्ध संग्रहित छन्, र यी भावप्रधान निबन्ध हुन् । संवेदनलाई नै सम्बोधित गरिएका यस खण्डका अधिकांश निबन्धमा मोमिलाले
आफ्नो सिर्जनात्मक अवधारणा प्रस्तुत गरेकी छन् । लेखन उनका लागि एउटा विमोक्ष समारोह हो, एउटा विरेचनको उपक्रम हो । आफू अभिव्यक्तिमा मोक्ष खोज्दै अभिव्यक्तिकै यात्रामा भएको जिकिर गर्दै उनी भन्छिन्, ‘जब भक्कानो छाडेर हृदयात्मक रुन्छ, उसका आँसुका हेक्काहरू नै उत्कृष्ट कविता बन्छन् ।’ यसरी बन्ने सबैभन्दा सुन्दर कविता उज्यालोका कविता हुन् । कविता भने पनि, निबन्ध भने पनि मोमिलाका लागि लेखन एक मोक्षयात्रा हो, जहाँ अहंलाई प्रवेश निषेध छ, जहाँ स्वघोषित अभिमानी बादशाहहरूका लागि ढोका बन्द गरिएको छ ।
अस्तित्ववाद र विसंगतिवादजस्ता आफैंमा क्लिस्ट मानिएका दर्शनमा उभिएका हुनाले कतिपय पाठकले यी निबन्ध दुर्बोध्य भए भन्न पनि सक्छन् । कवितात्मक र विम्बात्मक भाषालाई डिकोड गर्ने बानी नपरेकाहरूले उनको निबन्धमा जमिनी यथार्थको जग नभेट्टाउन पनि सक्छन् । यी निबन्धहरू पूर्वीय र पाश्चात्य सिर्जना र दर्शनका धेरै पात्रहरूसँगको संवादमा आधारित भएकाले ती पात्र र दार्शनिकसँग खासै परिचित नभएका पाठक अलमलिन पनि सक्छन् । निबन्धहरूले विषय दोहोर्‍याएको आरोप पनि लाग्न सक्छ । तर पनि, यसको उत्तर मोमिलासँगै छ— ‘प्रश्नहरू त बाँकी नै रहन्छन्...’ ।

Page 11
कोसेली

उपेन्द्र सुब्बाको मुन्धुमी लय

- राजन मुकारुङ

 

जट्टाधारी, खिर खुवाउने झाँक्री धेरैका लागि परिचित पात्र हुन् । झाँक्री मात्रैको ‘ट्रेलर’ हेर्नेको कम लामो ताँती छैन । ‘ट्रोल’ त कति बनेको छ कति ! साउन पन्ध्र आयो कि झाँक्रीकै कुरा आइहाल्छ । जमाना सेल्फीको छ । तर, यी झाँक्रीसित खिचेको ‘सेल्फी’, खासगरी छोरीमान्छेले फेसबुक वा इन्स्ट्राग्राममा पोस्ट गरे भने ‘कमेन्ट’ मा यस्तो आइहाल्छ– ‘बूढाले खिर खुवाउलान् है...!’ उपद्रै ‘गसिप’ र उपद्रै चर्चित छन् यी पात्र ।
यी पात्र ‘कबड्डी’ फिल्मका हुन् भनेर भनिराख्नै परेन । ‘खिर’ खुवाउने चरित्र त्यो झाँक्री जति चर्चित छ, त्यो ‘चर्चित’ पात्रको सामाजिक आयामबारे बहस गर्ने ल्याकत म राख्दिनँ । तर, त्यो झाँक्रीको भूमिका निर्वाह गर्ने उपेन्द्र सुब्बाचाहिँ मेरा साथी हुन् । पच्चीस वर्षपहिले काठमाडौंको किम्ची क्याफे, न्यु प्लाजामा भेटिएका हामी त्यसयता निरन्तर साथी छौं । उनी हाम्रो साहित्यिक–सांस्कृतिक मोर्चाका सिर्जनशील सदस्य हुन् । ‘क्याबिनेट’ का मान्छे हुन् । तब उपेन्द्रजीबारे केही भन्ने हक र हैसियत दुवै राख्छु म । मैले उनलाई मन नपराउने भनेको चाहिँ खास यही झाँक्री पात्रमै हो ।
...
माघको पहिलो साताको बिहान । ‘बाखाम्मा ः मुन्दुममा मान्छे’ नाटक लेखनको अन्तिम छेको चलिरहेको छ । ‘ग्रिन टी’ पिउँदै छु । ठस्स गन्ध आउने वाग्मती किनाराकै घरको छतमा आउने घामको न्यानो पर्खिंदै म नाटकका पात्रहरूको अझ बलियो ‘ब्याक स्टोरी’ सोच्दै आफैं हैरान भइरहेको छु । एक किसिमले दिमाग फनफनी भइरहेको छ । गिजिङमिजिङ घटनाहरू आइरहेका छन् । अचानक ज्याकेटको गोजीमा भएको मोबाइलमा ‘भाइब्रेसन’ हुन्छ, बज्छ । ‘ग्रिन टी’को कप सम्हाल्नै पर्‍यो, उसमाथि चिसो हात, मोबाइल झिक्दाझिक्दै ‘भाइब्रेसन’ सकिन्छ । मोबाइल झिकेर हेर्छु । उपेन्द्रजीको ‘कल’ रहेछ ।
‘मिस्ड’ भएको । सम्झिन्छु– निकै भइसकेको छ हाम्रो कुराकानी, भेटघाट नभएको । गज्जप हुने
भयो आजको बिहान । अबचाहिँ पक्कै अघि बढ्छ
मेरो काम । यस्तो लागिहाल्यो । हो, उपेन्द्रजीसित बोल्न, भेट हुन पाउँदा उम्दा ऊर्जा मिल्छ मलाई ।
मैले उपेन्द्रजीको नम्बरमा ‘डायल’ गरिहालेँ । उताबाट उठ्यो ।
‘सेवारो सर । कता हुनुन्छ ?’
‘सेवारो सर । म घरतिरै छु । तपाईं नि ?’
‘म झम्सिखेल ।’
‘अहो ! बिहानै ?’
‘अँ सर । यहाँ किरण चाम्लिङको अफिसमा ।’
‘किरणको अफिस ?’
‘हो नि सर ।’
‘लौ मलाई त केही भन्दैन किरणले ।’
‘आउनोस् सर । भेटघाट पनि गरौं । यसो साथीभाइलाई बलतागत मिल्छ ।’
‘हस् सर । म आउँछु ।’
‘उज्यालो भवनछेउमै है लोकेसन ।’
‘हस् सर । सोध्दै आउँछु ।’
मोबाइलको कुराकानी सकेर मैले पूर्ण भाइलाई फोन गरेँ । पूर्ण भाइ अर्थात् नेपाल प्रज्ञा–प्रतिष्ठानका सवारी चालक पूर्ण तामाङ । पूर्ण भाइ प्रायः बिहानै ब्याडमिन्टन खेल्न अफिस आउँछन् भन्ने थाहा छ । नभन्दै आज पनि आएका रहेछन् । उनको समय बुझेँ । उनले पुर्‍याइदिन भ्याउने भए । पन्ध्रदेखि बीस मिनेटका बीचमा आइपुग्ने बताए । म तयार भएर पूर्ण भाइलाई पर्खिंदै मोबाइलमा केही खोज्दै थिएँ । किरण चाम्लिङको फोन आयो । उठाएँ ।
‘दाजु, सेवा ।’
‘सेवा । कता छौ ?’
‘म उपेन्द्र दाजुको अफिसमा । झम्सिखेल । आउनोस् न यता ।’
‘आउँदै छु ।’
‘हस् दाजु ।’
फोन राखिसकेपछि पो झसङ्ग भएँ । उपेन्द्रजीले भन्नुहुन्छ– किरण चाम्लिङको अफिस, किरणले भन्छ– उपेन्द्रजीको अफिस । साथीहरूले गतिलै ‘सप्राइज’ दिँदै छन् कि क्या हो ? केही त पक्कै हुँदै छ, गर्दै छन् । यस्तै लाग्यो ।
पूर्ण भाइ आइपुगे । हामी फोनमै लोकेसन सोध्दै उज्यालो भवननेर पुग्यौं । अलि परको सडकछेउमा उपेन्द्रजी उभिरहनुभएको देखिहालेँ । गाडी रोकेर हामी उपेन्द्र–किरणको अफिसतिर लाग्यौं । दोस्रो तलाको बरन्डाभरि जुत्ताहरूको मेला नै लागेको छ । लाग्यो– अफिस उद्घाटन पो हो कि क्या हो ? भित्र पसियो । शैलेन्द्र डी. कार्की, किरण चाम्लिङ, सिजन दाहाल, मानहाङ लावती, शुभम चाम्लिङलगायतका प्रायः सबै परिचित साथीभाइहरू नै भेटिए । तब लागिहाल्यो– नयाँ सिनेमाको काम हुँदै रहेछ ।
कफी आयो, कुराकानी चल्यो । नभन्दै नयाँ सिनेमा बन्दै रहेछ– ‘मनसरा’ । निर्माता रहेछन् शैलेन्द्र । उपेन्द्रजी निर्देशक र किरण मुख्य सहायक निर्देशक रहेछन् । अन्तमा उपेन्द्रजीले ‘मनसरा’ को स्क्रिप्ट पढेर ‘इन्करेक्ट’ पक्षबारे सुझाव दिन भन्नुभयो । ‘मनसरा’ को स्क्रिप्ट हात लाग्यो । म अफिस आएँ ।
‘स्क्रिप्ट पठन’ को सन्दर्भमा उपेन्द्रजीसँगकै नगतिलो घटना पनि छ मेरो । त्यसले निकै नमिठो गराइरहन्छ पनि । उबेला नेपाली सिनेमाका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बा सुरुवाती चरणमै थिए । रामबाबुले ‘अनारिक’ बनाएका थिए । त्यो हलमा चलाइएन, भीसीडीबाट स्क्रिनिङ भयो होला धेरै । उनको अनुभव त्यही थियो । रामबाबु र उपेन्द्रले ‘गेटपास’ नामको स्क्रिप्ट पढ्न दिएका थिए । लाहुरे हुन चाहने युवाहरूको कथा थियो । त्यो स्क्रिप्टले मलाई खै किन हो खासै तानेन, छोएन । मैले कुनै प्रतिक्रिया दिइनँ । त्यो सन्दर्भलाई लिएर पछि कतै उपेन्द्रजीले भन्नुभएको छ– ‘राजन सरले पत्याउनुभएन ।’ त्यस्तै पनि पो हो कि ? संयोग पनि कस्तो भयो भने त्यो स्क्रिप्टको फिल्म पनि बनेन । त्यसपछि त दुवै जना ‘कबड्डी ब्रान्ड’ बाट अघि आइहाले । ‘गेटपास’ अब छुट्यो होला, ठानौं ।
खासमा म ‘स्क्रिप्ट–पाठक’ हुन थालेको भनेको चाहिँ ‘युप्पारुङ’ को स्क्रिप्ट पढ्दादेखि हो । पहिले स्क्रिप्ट पढ्दा ‘युप्पारुङ’ नाम थियो, पछि त्यही युप्पारुङ ‘जारी’ भएर आएको हो । उपेन्द्र सुब्बालिखित त्यो स्क्रिप्ट पढ्दापढ्दै यस्तरी तानिएको हुा कि धेरै पटक हाँसेको, रोएको थिएँ म । अनि पटकपटक पढेको थिएँ त्यो स्क्रिप्ट । फिल्मका बारे त यहाँ भन्नै परेन ।
‘मनसरा’ को स्क्रिप्ट हात लाग्नसाथ हुटहुटी बढेको हो । अफिसमा आउनसाथ अरूतिर ध्यान दिइनँ । खराखर पढ्न थालेँ । लगभग अढाई घण्टामा एकसरो पढिसकाएँ । पहिलो पटक पढिसक्दै मानौं कि म कुनै सिनेमा हलबाट बाहिरिँदै छु भन्ने भइरहेको छ । असीम आनन्दको अनुभव आइरहेको छ । मानाङ, मनरानी (मनसरा), दधिराम, नानमैया, केहरसिंलगायतका पात्रहरूले मथिङ्गल हल्लाइरहेका छन् । तिनका ‘ब्याक स्टोरी’ हरू हुरुरु आइरहेका छन् । दधिरामले सन्तान प्राप्त गर्न बढाउँदै लगेको सपना, दूधसहित बढाउन थालेको रक्सीको व्यापार, खुवा पसलको साहुजीले बेहोरेको बेथा आदि इत्यादि कुराहरूले क्लिकक्लिक गराउँदो छ । मानाङले ‘मनरानी’ लाई खोजिरहेको काठमाडौं सहर, सहरमा उसले गरेको यात्रा, यही काठमाडौं सहरदेखि नजिकैको अर्को सहर ललितपुरको नख्खुखोला, त्यही खोलाको किनारमा सुंगुर पालेर रक्सीको पैकार गर्दै छोरा हुर्काइरहेकी मनरानी, मनरानीप्रति दधिरामको प्रेम, नानीमैयाको छिनाझम्टी–शङ्का, अहो ! यी सब द्वन्द्वहरूबीच थाहै नपाई पसिगएका लिम्बू समुदायको सांस्कृतिक पहिचान, लय (ख्याली, पालम) र जीवन, दुःखलाई पनि हाँसेर भन्न सक्ने कला, साँच्चै छोइएँ म । कलामार्फत उठाइने पहिचानको मुद्दा, कति सरल र सहज रूपले प्रकट हुँदो रहेछ । म गर्वले ढक्क भएँ ।
अघि नै कलाकारहरू को–को हुन् भनेर सोधिएन । ठिकै त गरियो होला । उसै पनि पछिल्लो समय दया–मिरुना नेपाली सिनेमामा रुचाइएका जोडी हुन् । दर्शकहरूले उनीहरूलाई खोजिहाल्छन् । यी दुईको जोडी नेपाली सिनेमामा सुरक्षित लगानी अथवा ब्रान्ड । यसो गर्नैपर्ने बाध्यता नै छ । नत्र निर्माता पाउनै सकस । जस्तो कि झन्डै एक दशक दयाहाङलाई गाली गरेर नथाकेका नवीन सुब्बाले पनि अन्ततः ‘गाउँ आएको बाटो’ मा दयालाई नै साथ नलिई धरै पाएनन् । अथवा दयाबाहेकमा निर्माताहरूलाई कन्भिन्स गर्नै सकेनन् । त्यसमाथि उपेन्द्र सुब्बा, जसले दया र मिरुनाबाटै ‘जारी’ मा राम्रो रेस्पोन्स पाए । उनले यी दुईलाई छाडेर अरु आँट्लान् भन्ने लाग्ने कुरै भएन । ‘मानाङ’ मा दया र ‘मनरानी’ मा मिरुना पक्का हो भन्ने भइहालियो । तर, प्रश्न त आइहाल्यो । कतै ‘जारी’ को नामसाङ जस्तै ‘मनसरा’ को मानाङ पनि पो देखिने हो कि ? फरक मनोविज्ञान र चरित्रको त छ, तर सामुदायिक–सांस्कृतिक अवस्थाले उस्तै पो
देखिने हो कि ? मनरानी पक्कै मिरुना हुन् ।
‘जारी’ की हाङ्मा पो देखिने, बुझिने हुन् कि ? उत्तर पनि आफैं आयो– मानाङ र मनरानीको कथा अर्कै हो । ‘जारी’ मा छोरो नपाएर हैरान थियो उनीहरूलाई । यता त फहिल्यै छोरो छ । त्यही छोरो त कथाको कडीमा छ ।
म थामिन सकिनँ । तुरन्तै उपेन्द्रजीलाई भेट्न गएँ । कुरा चल्यो । ‘कास्टिङ’ बारे फ्यास्सै सोधिहालेँ । अघिका अनुमानित दुई जना परिहाले । थपमा प्रवीण खतिवडा र मेनुका प्रधानको नाम आयो । मेनुकाको काम ‘पुरानो डुंगा’ मा बेजोडको हेरेको हुँ । प्रवीण त नाट्यकर्ममै भेट भइरहने, उम्दा कलाकार भइहाले । प्रवीणमा दधिराम कल्पना गर्दा यस्तो आभास भयो कि अब यो सिनेमाबाट प्रवीणले खास काम देखाउने भयो । बहुत सुहाउँदो कास्टिङ । मेनुकाले त झनै हिरिक्कै पारिहाल्नेछिन् । यी दुईले निःसन्तान भएर अस्पताल चाहरेको दृश्य सम्झेर निकै संवेदनशील भइयो । डाक्टरले माग गरेको पैसा कमाउने ध्याउन्नमा दधिरामले गरेको
मिहिनेत र दुःखले हिरिक्क भइहालिँदो रहेछ । मनपरेको अर्को पात्र केहरसिंबारे सोधेँ । उपेन्द्रजी आफैं त्यो चरित्रमा देखिनुहुने रहेछ । मैले झन्डै त्यही चरित्र खेल्छु है भनेको थिएँ । उपेन्द्रजी आफैं खेल्ने भनेपछि मैले आफ्नो इच्छालाई मनभित्रै थप्थपाएँ । रोकेँ आफैंलाई ।
‘जिन्दगी झिंगालाला...’ भन्ने गज्जबको थेगो छ– मनसरामा । त्यही भएर स्क्रिप्ट पढेकै दिनदेखि ‘मनसरा’ को थोरै हल्ला हुँदै गरोस् भनेर ‘फेसबुक स्टाटस’ मा पहिलोपल्ट मैले नै राखेँ । यसलाई धेरैले लेख्न थाल्नुभयो पनि । भर्खरै थाहा भयो– ‘डिग्री माइला’ मा पनि यो संवाद छ । ‘हँ ! हो र ?’ यसरी दच्किनुपर्ने भइहाल्यो । यस्तो नहुनुपर्ने हो, भयो । तर कसरी ? अलि विस्तारै सोचिल्याइयो र एउटा सकारात्मक निष्कर्षमा पुगियो कि रामबाबु
(गुरुङ) र उपेन्द्रजी दुवै साथसाथ काम गरेकाहरूले सोच्ने धेरै थोक मिल्छ, मिलिहाल्छ नि ! यसै पनि रामबाबुले नै उपेन्द्रजीलाई सिनेमातिर
तानिलगेको हो ।
साहित्यिक यात्राको मेरा साथी बढी नै सिनेमातिर लहसिएका हुन् । उता त कता हो कता स्थापित भएका हुन् । कोइकोइ बेला लाग्थ्यो– रामबाबुले एक्लायो मलाई । मेरो साथीलाई भुलायो– रङ्गीन दुनियाँतिर । तर जब उनीहरू दुईका सिनेमाहरूले नेपाली सिनेमामा सांस्कृतिक कुराहरू ल्याए । सामुदायिक स्वादलाई फैलाए । अनि लाग्यो– झन् बृहत् हुँदो छ हाम्रो अभियान ।
हो कविता, कथा वा सिनेमाको सन्दर्भमा उपेन्द्र सुब्बा सबैका लागि प्रिय र आत्मीय छँदै छन् । झर्रा कुराहरू, झर्रा दर्शनहरू र झर्रा चिन्तनहरू भनूम्, ठेट विम्ब र प्रतीकहरूले संयोजित सरल र सपाट ढंगले लेख्न माहिर, मुन्धुमी लय र तानसहित लोरी सुन्दासुन्दै जसरी शालीन बनिसकेर बालक निदाउँछ, ठीक त्यसरी नै भद्र बन्न बाध्य पार्छन् उपेन्द्रका विम्बहरूले । कत्ति पनि उग्रता पाइँदैन उनका विम्बहरूमा, न त शास्त्रीय जडताहरू नै जबरजस्त घुस्छन् । पाठक र दर्शकको दिमागलाई ‘ड्यामेज’ गरिदिने दुस्साहस गर्दैनन् उनी । बरु, पाठकहरूले सहज पढ्छन् र दर्शकहरूले सहज हेर्छन्, अनि ‘रिफ्रेस’ हुन्छन् आफू ।
नेपाली साहित्यमा ‘खोलाको गीत’ कविता संग्रहका लोकप्रिय कवि, ‘लाटो पहाड’ कथा संग्रहका प्रिय लेखक । नेपाली सिनेमामा ‘कबड्डी सिग्नेचर’, एक अब्बल ‘स्क्रिप्ट राइटर’ । अघिल्लो वर्ष मात्र ‘सुपर हिट’ चलचित्र ‘जारी’ मार्फत निर्देशकका रूपमा स्थापित उपेन्द्र सुब्बा । कवि कम देखिन थालेका हुन् कि भन्ने भ्रम तोड्दै ‘जारी’ मार्फत कवितात्मक विम्बलाई दृश्यमा बुनेर उपेन्द्रजीले
आफ्नो कवित्वको रक्षा गरेका मात्रै छैनन्, निर्देशकीय अब्बलतासहित अझ ओजपूर्ण बनाएका छन् । अझ आयामिक बनाइदिएका छन् । तर, पछिल्लो समय एकाध साथीभाइले उपेन्द्र सुब्बालाई निकै नै गाली गरिरहेको देख्छु, खासगरी ‘जारी’ सफल भएपछि । यही क्रम ‘मनसरा’ को ‘टिजर’ र ‘ट्रेलर’ आएपछि पनि दोहोरिएको छ । उपेन्द्रजीले लिम्बू समुदायको हास्यरस र जीवन शैलीलाई आफ्नो लेखन र प्रस्तुतिको ढाँचा बनाउँछन् । तर, यही कुरालाई लिएर ती साथीभाइले ‘समुदायको कमजोरीलाई बेपार गर्ने’ भनिरहेको देख्छु । मानौं कि उपेन्द्र केही जान्दैनन्, तर साथीहरू भने सबकुछ जान्दछन् । उनीहरूचाहिँ साम्बा, फेदाङ्मा वा विद्वान्हरू हुन्, उपेन्द्रचाहिँ पट मात्रै हुन् । सुरुसुरुमा त म आफैं अघि सरेर ती साथीभाइसित बाझेको छु । भनेको छु– बनाओ न आफैं, के पर्खिहेरी बस्छौ ? तर, अचेल त्यस्तो लाग्दैन । अब बाझ्न छोडेको छु । घरीघरी चाहिँ रन्को छुटिहाल्छ । भन्न मन लाग्छ– कोही सबकुछ बुझ्छन् र केही बुझ्दैनन् । उपेन्द्र सुब्बा भने केही बुझ्दैनन् र सबकुछ बुझ्छन् ।
यहाँनेर यस प्रसंग उठाएर कसैलाई ‘होच्याएको’ भन्ने अर्थ नलागोस् । उपेन्द्रजीका तर्फबाट प्रतिवाद वा प्रतिरक्षा गरिएको पनि होइन । न त एनेठेने कुरा ठेसेको मात्रै पनि हो । हामी ढुक्क छौं कि जुन पुस्ता वा संगतले उपेन्द्रजीलाई गाली गर्छ नि, त्यही पुस्ता र संगत नै उपेन्द्र सुब्बाको असली शुभचिन्तक हो । जस्तो कि ‘मनसरा’ धानको एक प्रजाति हो । यसको विशेषताचाहिँ यो धान मात्रैको बीउले धान फल्दैन, फैलिँदैन । त्यस्तै हो मानिस र उसको समाज । एकल मानिस र एकल विचारले मात्रै समाज अगाडि बढ्दैन, गतिशील हुँदैन । धेरै विचारको मन्थन, संश्लेषण र प्रयोगबाट नै अगाडि बढ्ने हो ।
सुन्दर विम्ब छ ‘मनसरा’ को । मुन्धुमी लयमा बग्ने सुन्दर कथा र स्क्रिप्ट छ । सिनेमा उसै राम्रो बनेको होला । सकारात्मक हुने पारा यही हो ।

Page 12