जोखिम मोलेर इटलीमा शरण खोज्दै नेपाली
इटलीको उत्तरपूर्वी सहर ट्रिएस्टेको सेन्ट्रल रेल स्टेसनछेउको पार्कमा हरेक साँझ कम्तीमा १० नेपाली लिनिया दोम्ब्रा ओडीभी एसोसिएसनको मद्दत खोज्दै पुग्छन् । लिनिया स्थानीय गैरसरकारी संस्था हो । जसले ट्रिएस्टे सेन्ट्रलको सडकमा बास लिन पुगेका नेपालीसहित आप्रवासीलाई प्राथमिक स्वास्थ्य जाँच, खाना र लत्ताकपडा उपलब्ध गराउँदै आएको छ । ‘हरेक साँझ कम्तीमा १० नेपाली खाना र लत्ताकपडा खोज्दै आउँछन्,’ एसोसिएसनकी संस्थापक लोरेना फोर्नसरले कान्तिपुरलाई भनिन्, ‘यहाँको कमजोर प्रशासनका कारण आश्रय पाउनेहरूमध्ये नेपाली अन्तिममा पर्छन् ।’
उनका अनुसार पछिल्लो वर्षमा ट्रिएस्टे स्टेसनको अगाडिको चोकमा नेपालीको दैनिक उपस्थिति उल्लेखनीय रूपमा बढिरहेको छ । त्यसरी खाना खोज्दै आउने नेपालीले इटली प्रशासनबाट आश्रय नपाएसम्म सडकमा नै बस्नुपर्छ । यो पार्कमा सयभन्दा बढी नेपाली अलपत्र छन् । यो संख्या नियमित जस्तै भइसकेको छ । यी नेपाली पश्चिम बाल्कन मार्ग हुँदै ट्रिएस्टे सेन्ट्रल स्टेसन आइपुगेका हुन् ।
इटली–स्लोभेनियाको सीमा नजिकको ट्रिएस्टे बाल्कन मार्गबाट इटली प्रवेश गर्ने प्रमुख नाकामध्ये एक मानिन्छ । ट्रिएस्टेको पार्क संसारभरका आप्रवासी आइपुग्ने ठाउँ हो । यहाँ आइपुगेर लिनियाको सम्पर्कमा पुगेका नेपालीले खाना र कम्बल (कसै–कसैले टेन्ट) त जसोतसो पाउँछन् । त्यसैको भरमा सडक, पार्क र पुरानो बन्दरगाहको जीर्ण भवनमा उनीहरू महिनौंसम्म चिसो भुइँमा रात बिताउने गरेका छन् ।
‘हामी पुरानो भवनभित्र टेन्ट लगाएर बसिरहेका छौं । दुई जना महिला छौं । बाँकी पुरुष छन् । यो भुइँमा सुत्दा धेरै पटक आँसु आयो । रोएँ पनि । तर फेरि आफैंलाई सम्झाएँ । यो मैले आफैं रोजेर आएको बाटो हो, सहनैपर्छ,’ संखुवासभाकी सीता राईले कान्तिपुरसँग भनिन्, ‘इटलीको हावापानी पनि साह्रै कठिन रहेछ । पानी पर्दा भवन चुहिन्छ । भुइँभरि माटो नै माटो छ । हिलो हुन्छ । छाता ओढेर बस्नुपर्छ । कहिले त प्लास्टिकले पनि छेक्न सक्दैन । छोरी मान्छेलाई त झन् धेरै गाह्रो छ । राम्रोसँग शौचालय जाने ठाउँ छैन । नुहाउने ठाउँ छैन । न सुरक्षित रूपमा बस्ने वातावरण नै छ ।’
बाल्कन मार्गको जोखिमपूर्ण यात्रा
राईलाई साइप्रसबाट टर्किए, ग्रिस र फ्रान्स हुँदै ट्रिएस्टेमा आइपुग्न १८ दिन लाग्यो । यसलाई बाल्कन रुट (मार्ग) पनि भनिन्छ । बाल्कन रुट भन्नाले मुख्यतया एसिया, मध्य पूर्व र अफ्रिकाबाट युरोपेली युनियन प्रवेश गर्न चाहने शरणार्थी तथा आप्रवासीहरूले प्रयोग गर्ने अवैध मार्ग बुझाउँछ । आप्रवासीहरू सामान्यतया टर्किए वा ग्रिस हुँदै युरोप प्रवेश गर्छन् । त्यसपछि उनीहरू उत्तरतर्फ (बाल्कन क्षेत्रका देशहरू– नर्थ म्यासेडोनिया, सर्बिया, बोस्निया एन्ड हर्जेगोभिना, क्रोएसिया र हंगेरी) यात्रा गर्छन् । यी देशहरू पार गरेर उनीहरू जर्मनी, फ्रान्स, इटली वा अन्य उत्तर तथा पश्चिमी युरोपेली मुलुक पुग्ने लक्ष्य राख्छन् ।
भिसाबिना युरोप छिर्न बाल्कन मार्ग रोज्नेहरू धेरै छन् । यहाँ पुग्न जोखिमपूर्ण सयौं स्थलमार्गहरू छन् । यसलाई एजेन्ट र डंकर (बाटो देखाउने व्यक्ति) ले जंगल र पहाड हुँदै देशहरूको सिमाना कटाएर लैजान्छन् । राईले इटलीमा आइपुग्न एजेन्ट/डंकरलाई चार हजार युरो (झन्डै सात लाख रुपैयाँ) बुझाएकी थिइन् । उनले यो रकम तीन वर्ष साइप्रसमा घरेलु श्रमिकको हैसियतमा काम गरेर जम्मा गरेकी थिइन् । ‘टर्किए, ग्रिस र फ्रान्सको सिमाना पार गर्न निकै कठिन भयो । खोल्साखोल्सी, उकालो–ओरालो, डाँडा–जंगल हुँदै हिँड्नुपर्थ्यो । खोलाको पानी खाएर हिँड्यौं ।’
‘डाँडामा पुग्दा बोकेको पानी पनि उम्लेजस्तो हुन्थ्यो,’ राईले भनिन्, ‘दिनमा तीन–चार घण्टा होइन, नौ–नौ घण्टासम्म हिँड्नुपर्थ्यो । बोर्डर पार गरेर जंगलमा लुकेर ट्याक्सीको पर्खाइमा बस्नुपर्थ्यो । ट्याक्सी आयो भने हर्न बजाउँथ्यो, अनि हुरुरु दौडेर चढ्नुपर्थ्यो । छुट्यो भने थप एक–दुई दिन जंगलकै बास हुन्थ्यो ।’ फ्रान्स पुगेपछि उनीहरू बसमार्फत इटलीको मिलान हुँदै ट्रिएस्टेमा पुगेका थिए । ‘फ्रान्स पुगेर धेरै दुःख पाइयो । बाटो देखाउने एजेन्ट साथमा थिएन । आफैंले लोकेसन हेर्नुपर्थ्यो । मोबाइलमा डाटा चाहिन्थ्यो, वाइफाई नभए हराउने डर हुन्थ्यो । भाषा नआउँदा झन् धेरै गाह्रो भयो,’ उनले भनिन्, ‘हामीले एउटा ठाउँमा पुर्याइदिनु भनेका थियौं, तर ट्याक्सी ड्राइभरले अर्को ठाउँमा छाडेर अलपत्र पारिदियो । बल्लतल्ल इटली जाने बस स्टप पुग्यौं । त्यो बेला राति एक–दुई बजिसकेको थियो । पानी परिरहेको थियो । पूरै भिज्यौं । धेरै सामान बोक्न नमिल्ने भएकाले लगाएका कपडा जिउमै सुकाएर हिँड्यौं ।’
लमजुडका रामचन्द्र विश्वकर्माले पनि अल्वानियाबाट इटली पुग्न पाकिस्तानी एजेन्टलाई २५ सय युरो दिएका थिए । उनी म्यानपावर कम्पनीलाई ६ लाख रुपैयाँ तिरेर श्रम स्वीकृति लिई २०२२ मा अल्वानिया पुगेका थिए । ‘अल्वानियामा जुत्ता फ्याक्ट्रीमा २२ जना नेपाली काम गर्थें । यो कम्पनीमा आएका धेरै मान्छे भाग्न थाले । कामदारको संख्या घट्दै गयो । त्यसपछि कम्पनीले तलब रोक्न थाल्यो,’ विश्वकर्माले कान्तिपुरलाई भने, ‘हामी पाँच जना थियौं । एजेन्टलाई २५ सय युरो दिएका थियौं । उसले इटलीसम्म पुर्याउने जिम्मा लिएको थियो ।’
उनी अल्वानियाबाट हिँडेको २२ औं दिनमा इटली पुगेका थिए । त्यसक्रममा विश्वकर्माले अल्वानियाबाट मोन्टेनेग्रो, बोस्निया, स्लोभेनिया हुँदै इटलीसम्मको यात्रा पूरा पुगेका थिए । उनको टोली स्लोभेनिया–इटलीको सीमाबाट आठ किलोमिटर टाढा रहेको ट्रिएस्टे पार्कमा पुग्छ । एजेन्टले पठाइदिएको लोकेसन पनि त्यही ट्रिएस्टे पार्कको थियो । ‘बोर्डर–बोर्डर पार गर्दा कतै ४–५ दिन कुर्नुपर्थ्यो । कतै होटलमा राख्थे । देशभित्र भने टिकट काटेर गाडीमा हिँडिन्थ्यो । कतै कन्टेनरभित्र राखिन्थ्यो । तर जहाँ पुलिस चेकिङ हुन्थ्यो, त्यहाँबाट १२–१५ किलोमिटर पैदल हिँड्नुपर्थ्यो । भीर, जंगल, अप्ठ्यारो बाटो हुँदै लुकेर हिँड्नुपर्थ्यो । एकदमै घना जंगल थियो । झाडी, काँडा, ठूला रुखहरू हुन्थ्यो,’ उनले भने, ‘बाटो देखाउने मान्छे हामीसँगै प्रत्यक्ष हुँदैन्थ्यो । एजेन्टले मोबाइलमा लाइभ लोकेसन पठाउँथ्यो । त्यही लोकेसन हेर्दै हिँड्नुपर्थ्यो । बाटोमा संघर्ष त एकदमै थियो । कतिखेर के हुन्छ भन्ने डर हुन्थ्यो, ज्यानको जोखिम पनि त्यत्तिकै थियो । खाना खाने र सुत्ने समय हुँदैनथ्यो । अहिले सम्झिँदा पनि अत्यास लाग्छ ।’ उनलाई पार्कछेउमै रहेको रेल स्टेसनमा धेरै नेपालीहरू भेला भएकामा सुरुमा त अनौठो लाग्यो । तीमध्ये कोही पानी भर्न आएका थिए । कोही पार्कमै बसिरहेका थिए । एक जना नेपालीले उनलाई भने, ‘शरणार्थीको आवेदन दिएपछि यहाँको क्याम्पमा निःशुल्क बस्न पाइन्छ । सहयोग पनि हुन्छ ।’
फ्रान्स हिँडेका विश्वकर्मा त्यही पार्कमा रोकिए । त्यस्तो दुःख/हैरानी भोगेर पुगेका विश्वकर्माले पार्कमा नसोचेको जीवन बाँचिरहेका छन् । ‘एउटा दुःखको देशबाट अर्को दुःखको भुमरीमा आइपुगेको जस्तो लागिरहेको छ,’ उनले भने, ‘खाना खान पनि लाइन लाग्नुपर्छ । त्यो लाइनमा पाकिस्तानी, नेपाली, बंगाली, अफगानी सबै हुन्छन् । नेपालमा जस्तो दाल–तरकारी हुँदैन । प्लास्टिकको प्याकेटमा खाना आउँछ । यो कहिलेकाहीं खान मनै लाग्दैनथ्यो । बाँच्नका लागि मात्रै खाइरहेको छु ।’
युरोपियन र अन्तर्राष्ट्रिय निकायहरूको हालैका प्रतिवेदनहरूले युरोपेली मुलुकको कडाइका कारण बाल्कन मार्गमा मानिसहरूको आवतजावतमा निरन्तर गिरावट आएको संकेत गर्दछ । युरोपेली सदस्य राष्ट्रहरूको बाह्य सिमानाको व्यवस्थापनमा सहयोग गर्ने युरोपको सिमाना सुरक्षा बल (फ्रान्टेक्स) का अनुसार यस मार्ग हुँदै युरोपमा प्रवेश गर्ने आप्रवासीको पहिचान २०२५ मा ४२ प्रतिशतले घटेको छ । २०२४ मा २१ हजार ५ सय २० पुगेको थियो । यसमा घटेर २०२५ मा १२ हजार ५ सय २५ मा पुगेको हो । फ्रान्टेक्सले यो कमी हुनुमा सिमाना नियन्त्रण उपायहरू सुदृढ गरिएको र राष्ट्रिय अधिकारीहरू तथा एजेन्सीबीच आपसी सहकार्य बढेको कारण देखाइएको छ । यसले ईयूका बाह्य सिमानामा सदस्य राष्ट्रहरूलाई सहयोग गर्दै गस्ती, हवाई निगरानी र सिमाना सुरक्षा गतिविधिहरू सञ्चालन गर्छ ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनसीएचआर) ले २०२५ मा बाल्कन मार्ग प्रयोग हुँदै आप्रवासीको ओहोरदोहोरमा २०२४ को तुलनामा ३९ प्रतिशतले घटेको उल्लेख गरेको छ । जसमा करिब ९ हजार ३ सय ५० जनाले पश्चिमी बाल्कन हुँदै यात्रा गरेका थिए । तर, सोही समयमा इटलीतर्फ जमिनबाट आउने मानिसहरूको संख्यामा भने कमी आएको छ ।
अन्तर्राष्ट्रिय निकायको प्रतिवेदनले घटेको देखाए पनि नेपाली सन्दर्भमा फरक विवरण र तथ्यांकहरू छन् । कान्तिपुरले नेपाली श्रमिक र युरोपस्थित नेपाली दूतावाससँग गरिएको कुराकानीका आधारमा बाल्कन मार्ग प्रयोग गरेर कागजातविहीन हुने नेपालीको संख्या भने दिनहुँ बढिरहेको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) लिएर पूर्वी तथा दक्षिणपूर्वी युरोपका देशमा जाने नेपालीको संख्या बढिरहेको छ । तर, उनीहरू ती देशमा काम नगरी पश्चिम युरोपमा जाने गति बढेपछि यसलाई निरुत्साहित गर्ने भन्दै परराष्ट्र मन्त्रालयले ८ मार्च २०२३ मा पठाएको पत्रका आधारमा युरोपस्थित नेपाली दूतावासहरूले संस्थागत मागपत्र प्रमाणीकरण बन्द गरेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै ३५ हजार नेपाली व्यक्तिगत पहुँच (एजेन्ट) मार्फत युरोप गएका छन् । जसमा सबैभन्दा बढी रोमानिया २१ हजार, क्रोएसिया ११ हजार, पोर्चुगल १९ सय, स्लोभेनिया ११ सय र अस्ट्रिया एक हजार जना गएका हुन् । विभागको तथ्यांकबाहेक तेस्रो मुलुक हुँदै युरोप जाने नेपाली श्रमिकको संख्या झनै धेरै रहेको व्यवसायीहरू दाबी गर्छन् । संस्थागत रूपमा श्रमिक पठाउने कार्य रोकिँदा व्यक्तिगत श्रम स्वीकृतिमा दर्ताविहीन एजेन्टमार्फत नेपाली श्रमिकहरू युरोप गइरहेका छन् । त्यसरी युरोप पुग्ने नेपाली श्रमिक आर्थिक शोषण र ठगीलगायतका समस्यामा पर्ने गरेका छन् ।
अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी), इटलीसँग २०२५ मा बाल्कन मार्ग भएर एक हजार ६० जना नेपालीसहित ९ हजार ७ सय ६१ जना ट्रिएस्टे रेल स्टेसन पार्क पुगेको अभिलेख नै छ । जसमा ९२ प्रतिशत पुरुष र ८ प्रतिशत महिला थिए । यी तथ्यांकहरू आईआरसी र स्थानीय गैरसरकारी संस्था डियाकोनिया भाल्देसेका कर्मचारीले आप्रवासीहरूसँग प्रत्यक्ष भेटेर गरेको कुराकानीमा आधारित छन् । यसले सीमा क्षेत्रको आप्रवासन अवस्थाको आंशिक चित्र मात्रै जनाउँछ । आईआरसीका अनुसार बाल्कन मार्ग हुँदै इटली प्रवेश गर्ने आप्रवासीको संख्या अझ बढी हुन सक्छ । पार्कमा आइपुगेका कुल आप्रवासीको संख्या २०२४ को तुलनामा २७ प्रतिशतले घटे पनि नेपालीको संख्या भने बढिरहेको आईआरसीको प्रतिवेदनमा उल्लेख छ । २०२४ मा पार्कमा आइपुग्नेको संख्या १३ हजार चार सय ६० जना थियो । त्यसमध्ये ७ सय ९३ जना नेपाली थिए । सबैभन्दा बढी अफगानिस्तानी ४० प्रतिशत, टर्किए १३ प्रतिशत, नेपाली ११ प्रतिशत, बंगलादेशी ११ प्रतिशत र पाकिस्तानी ११ प्रतिशत छन् । तर, एक्लै आउने महिलामा सबैभन्दा बढी नेपाली ७६ प्रतिशत (१९३ जना), भारतीय ७ प्रतिशत (१८ जना), श्रीलंकाका ४ प्रतिशत (१० जना) र टर्किएका ४ प्रतिशत (१० जना) छन् । श्रीमान् र श्रीमतीसहित पुग्ने ५० नेपाली जोडी रहेको आईआरसीको प्रतिवेदनमा उल्लेख छ ।
ट्रिएस्टेस्थित पुरानो बन्दरगाह (पोर्टो भेकियो) को जीर्ण सरकारी भवनमा बस्ने आप्रवासीहरूको कथा झनै दारुणिक छ । इटलीको समाचार संस्था ‘ऐन्सा’ को एक रिपोर्टअनुसार गत १२ जनवरीमा ४३ वर्षीय सुनील तामाङ त्यस्तै एउटा भवनमा सिकिस्त बिरामी अवस्थामा फेला परेका थिए । अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरे । तामाङ अघिल्लो दिन मात्र शरणार्थीको आवेदन दिएर फर्केका थिए । आप्रवासीलाई सहयोग गर्दै आएका इटालियन कन्सोर्टियम अफ सोलिडारिटी (आईसीएस) का अध्यक्ष जियानफ्रान्को स्किआभोनेले समयमा उपचार नपाउँदा ती नेपालीको ज्यान गएको बताए । ‘उनी हप्तौंदेखि बाहिर बसिरहेका थिए । क्रिसमस आसपास ट्रिएस्टे आइपुगेका थिए । त्यतिबेला धेरै दिनदेखि तापक्रम शून्यभन्दा तल झरेको थियो । असहाय अवस्थामा उनलाई छोडिएको थियो,’ स्किआभोनेलाई उद्धृत गर्दै ‘ऐन्सा’ले १५ जनवरीमा लेखेको थियो, ‘समयमै उपचारको पहुँच भएको भए उनलाई बचाउन सकिन्थ्यो । उनलाई न समयमा सुरक्षित आश्रय दिइयो न स्वास्थ्य सेवा नै ।’
इटलीका सरकारी निकायले त्यस्ता भवनमा बस्दै आएकाहरूलाई बेलाबेलामा हटाउने पनि गरेका छन् । तर, आप्रवासीहरूको बढ्दो चापका कारण केही दिनमै अर्को समूह बस्न आइपुग्छ । ‘आवास सेवामा पहुँच पाउन ढिलाइ भइरहँदा धेरै मानिस घरबारविहीन हुन्छन् । उनीहरू बाध्य भएर गोदामघरमा जोखिमपूर्ण आश्रय लिन बाध्य हुन्छन् । जहाँ सरसफाइ र बसोबासको उचित प्रबन्ध अभाव तथा कठोर जीवनयापनका कारण स्वास्थ्यसम्बन्धी जोखिम उच्च छ,’ उनले भने, ‘त्यहाँ आश्रय लिनेमध्ये हरेक दिन धेरै आप्रवासीहरू दिउँसोको क्लिनिकमा श्वासप्रश्वास र अन्य रोगको समस्या जँचाउन पुग्नेछन् । विशेष उपकरण वा गुणस्तरीय परीक्षणबिना ती रोग तथा समस्याको निदान र उपचार कठिन हुन्छ ।’
सेतो कागजको महिनौं प्रतीक्षा
सिन्धुपाल्चोकका सञ्जीव थापालाई ट्रिएस्टेस्थित प्रान्तीय प्रहरी मुख्यालय (क्रेस्टुरा) बाट जारी गरिएको शरणार्थी आवेदनको ‘औपचारिक दर्ता प्रमाणपत्र (सेतो कागज)’ हात पर्न पाँच महिना लाग्यो । सी–थ्री फराम भरेर त्यो ‘ह्वाइट पेपर’ हात नपरेसम्म शरणार्थीको आवेदन दिएको व्यक्तिले अस्थायी आवास केन्द्र (क्याम्प) मा बस्न पाउँदैन । त्यतिञ्जेल तिनै जीर्ण भवनको चिसो भुइँमा बिताउनुपर्छ । ‘म त्यस्तो घरमा पाँच महिना बसें ।
झ्यालढोकासमेत थिएन । जंगलजस्तो ठाउँ थियो । सधैं डराएर सुत्नुपर्थ्यो । गाँजा खाने, रक्सी खाने, मान्छेहरूबीच सधैं झगडा भइरहन्थ्यो । खाना लिन दुई–तीन किलोमिटर टाढा जानुपर्दथ्यो,’ उनले भने, ‘डंकरहरू आउँथे । मान्छे छोडेर जान्थे ।’
अक्टोबर २०२३ मा उनी क्रोएसियाबाट इटली पुगेका थिए । त्यो वर्ष नेपालबाट ७ हजार ४ सय ४१ जनाश्रम स्वीकृति लिएर क्रोएसिया गएका थिए । क्रोएसिया जान नेपालमा एजेन्टलाई आठ लाख रुपैयाँ बुझाएको थापाले कान्तिपुरलाई बताए । ‘क्रोएसियामा हामीलाई एक वर्षको मात्रै वर्क परमिट दिइएको थियो । तर, काम आफैंले खोजेर गर्नुपर्थ्यो । चार महिना वेयरहाउसमा भारी उचाल्ने काम पाएँ । काम साह्रै गाह्रो भएपछि छाडिदिएँ । डेलिभरीमा दैनिक दिइएको २५ वटा टार्गेट पूरा गर्न १३–१४ घण्टा खट्दा पनि सकिएन । त्यसपछि एक महिनासम्म काम खोज्दा पनि केही सीप लागेन,’ उनले भने, ‘त्यही बेला एक जना चिनजानको दाइ इटली पुगेको थाहा पाएँ । म पनि उनकै सहयोगमा इटली आइपुगे ।’ त्यतिखेर उनीसँग क्रोएसियाको अस्थायी आवासीय अनुमति (टीआरसी) को म्याद तीन महिना मात्रै बाँकी थियो । ‘इटली आउन अरूलाई जस्तो दुई–तीन हजार युरो लागेन । किनभने मेरो टीआरसी कार्ड थियो । यो भएपछि बस चढेर नै आउन पाएँ,’ उनले भने ।
इटलीमा पुगेपछि उनको दुःखको पहाड झनै अग्लियो । शरणार्थी आवेदन दर्ता गर्न अनेकन सास्ती झेल्नुपर्यो । ‘हामीजस्तो सडकमा सुत्ने सयौं जनाको आवेदन दिन जाने ठाउँ एउटै क्रेस्टुरा मात्रै छ । अनलाइनबाट फाराम भर्न नपाइने रहेछ । सधैं बुक भइसक्यो र कोटा पूरा भयो भन्ने मात्र सन्देश आउँथ्यो । हरेक दिन कार्यालय क्रेस्टुरा पुग्थें,’ उनले भने, ‘म पाँच पटकसम्म गएँ । सुरुमा राहदानी बुझाउन भन्यो । मलाई राहदानी बुझाउन डर लाग्यो । पछि के हुने हो ? कसो हुने भनेर बुझाइनँ । बल्ल–बल्ल दर्ता भयो । फोटो खिचियो, औंठा छाप लिइयो ।’ शरणार्थीका लागि आवेदन दिन थापा जस्तै आप्रवासीहरू हरेक बिहान ५ बजे नै प्रहरी मुख्यालय पुग्छन् । वर्षा, घाम, गर्मी वा चिसो केही नभनी घण्टौंसम्म प्रहरी मुख्यालय बाहिर पर्खन्छन् । त्यसपछि एक अधिकारी बाहिर आएर भन्छन्, ‘भोलि फेरि आउनुहोस् ।’ हरेक दिन उही कुरा दोहोरिन्छ, ‘भोलि आउनुहोस् ।’
लिनियाकी संस्थापक लोरेना फोर्नसरका अनुसार अझ नेपालीहरूको हकमा प्रहरी मुख्यालयले यो प्रक्रिया निरन्तर स्थगित गरिरहन्छ । ‘कहिलेकाहीं यो महिनौंसम्म लगाइदिन्छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘यहाँ प्रशासनले कानुन मान्न छाडेको छ । अहिलेको नीति भनेको शरणार्थीहरूलाई निरुत्साहित गर्नु देखिन्छ । त्यसको उद्देश्य भनेको आप्रवासीहरूसँग खराब व्यवहार गरेर इटली आउनबाट रोक्नु हो ।’
इटलीको कानुनअनुसार, प्रहरीले शरणार्थी आवेदनको दर्ता प्रक्रिया आवेदन दिएको तीन दिन (कार्यालय समय) भित्रै पूरा गरिसक्नुपर्छ । बढी चाप भए १० दिनसम्म लैजान सकिन्छ । तर, युरोपिएन काउन्सिलको शरणार्थी तथा निर्वासनसम्बन्धी प्लाटफर्म असाइलम इन्फर्मेसन डाटाबेस (एडा)– २०२५ को प्रतिवेदनअनुसार आवेदनको औपचारिक दर्ता गर्न औसत ५ देखि ८ महिनासम्म लाग्ने गरेको छ । जसमा प्रहरीले हरेक दिन सीमित व्यक्तिको मात्रै तस्बिर खिच्ने र औंठा छाप संकलन गर्ने काम गर्छ । यी अलग–अलग काम गर्न समय लाग्छ । प्रहरी मुख्यालयमा स्वयंसेवीका रूपमा दोभाषे रहेका काठमाडौंका अजय गौतमका अनुसार अन्तर्वार्तामा समय लाग्ने बताए । ‘आवेदनको औपचारिक दर्ताका लागि एउटा फारम (सी–थ्री) भर्नुपर्छ । यो फारम पूरा गर्नका लागि प्रहरी अधिकारीले आवेदकको पहिचान, व्यक्तिगत अवस्था, परिवार, व्यक्तिगत इतिहास, इटली आइपुग्नेको यात्रा र आफ्नो मूल देशबाट भाग्नुका कारणबारे प्रश्नहरू सोध्नेछन्,’ गौतमले भने, ‘आवेदकले नेपाली भाषामा आफ्नो कुरा राख्न पाउँछन् । त्यसमा हामीले इटली भाषामा बताइदिन्छौं । यसले पनि समय लाग्छ ।’
१७ डिसेम्बर २०२५ मा इटलीमा कार्यरत आठवटा गैरसरकारी संस्थाद्वारा जारी गरिएको ‘एक्सेस डिनाइड’ प्रतिवेदनअनुसार, ट्रिएस्टेको प्रहरी कार्यालयमा दैनिक दर्जनौं आप्रवासी शरणका लागि पुग्दा पनि केवल १०–१२ जना मात्र कार्यालयभित्र पस्न सफल हुन्छन् । र, आवेदन प्रक्रिया पूरा हुन करिब तीन हप्तादेखि ६० दिनसम्म पनि लाग्न सक्छ । यो अवधिमा शरणार्थीहरू कानुनी अन्योलमा रहन्छन् । जसले गर्दा उनीहरू आश्रय, स्वास्थ्य सेवा र अन्य मौलिक अधिकारहरूबाट वञ्चित हुनुपर्छ ।
इटालियन युनियन पुलिस वर्कर्स युनियनको फ्रिउली भेनेत्सिया जुलिया शाखाका महासचिव फाब्रिजियो मानियागोले ट्रिएस्टेमा आवेदन दिन जाने शरणार्थीको संख्या नाटकीय रूपमा बढ्दै जाँदा पनि प्रहरी र कर्मचारीको संख्या नबढाइएको, जसले गर्दा आवेदन प्रक्रियामा ढिलाइ भइरहेको बताए । ‘बीस वर्ष अगाडि ट्रिएस्टेमा वार्षिक १ सय–१ सय ५० जना शरणार्थीको आवेदन पर्थ्यो । अहिले एकै दिन १ सय २० जना पुग्छन्,’ १३ जनवरीमा महासचिव मानियागोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२० वर्षअघि ट्रिएस्टे प्रहरी मुख्यालयमा प्रहरी अधिकारीहरूको संख्या ६ सय थियो । अहिले घटेर ४ सयमा झरेको छ ।’ नेपाली आप्रवासीको मृत्यु भएपछि मानवअधिकारकर्मीले स्थानीय प्रशासनमाथि प्रश्न उठाएका थिए । त्यसको बचाउमा प्रहरीले जनशक्ति अभाव भएको कारण देखाएको थियो ।
आईआरसीले इटलीको प्रशासनिक व्यवस्था र अभ्यासले शरण तथा संरक्षण खोज्ने व्यक्तिहरूका लागि धेरै कठिनाइ सिर्जना गरेको जनाएको छ । ‘यी समस्या केवल प्रशासनिक क्षमता वा व्यवस्थापनको सीमिततासँग मात्र सम्बन्धित छैनन् । यसले कानुनी व्यवस्था पालना भएको छ कि छैन र संरक्षण प्रणाली प्रभावकारी रूपमा काम गरिरहेको छ कि छैन भन्ने विषयमा पनि गम्भीर प्रश्न उठाएको छ । यसका कारण आवेदन दर्तामा ढिलाइ हुने, प्रक्रिया अन्योलपूर्ण बन्ने र कतिपय अवस्थामा आवेदन नै दिन नसक्ने अवस्था देखिएको छ,’ आईआरसीको प्रतिवेदनमा उल्लेख छ, ‘परिणामस्वरूप धेरै आप्रवासी हप्तौंसम्म कानुनी रूपमा अनिश्चित अवस्थामा बस्न बाध्य छन् । उनीहरूले आफ्नो बसाइलाई कानुनी मान्यता दिलाउन, शरणार्थी प्रक्रियासँग सम्बन्धित अधिकार र सेवाहरू प्राप्त गर्न तथा आवश्यक संरक्षण पाउन कठिनाइ भोगिरहेका छन् ।’
शरणार्थी कार्ड पाउन मुस्किल
प्रहरीबाट औपचारिक दर्ता प्रमाणपत्र पाएपछि मात्र आप्रवासीहरूलाई स्थानीय गैरसरकारी संस्थाले सञ्चालन गरेको आपत्कालीन आवास केन्द्र (क्याम्प) मा गएर बस्ने सुविधा हुन्छ । त्यस्ता क्याम्पहरू इटलीको गृह मन्त्रालयले विशेष गैरसरकारी संस्था तथा निजी कम्पनीसँगको साझेदारीमा सञ्चालन गर्दै आएको छ । पुरुष र परिवार–महिलाका लागि अलगअलग क्याम्पहरू हुन्छन् । ‘म र मेरा श्रीमान्ले एकै पटक आवेदन दिएपछि हामीले परिवारको स्टाटस पायौं । दुई परिवारलाई एउटा फ्ल्याटमा राखिएको छ । त्यहाँ एउटा–एउटा कोठा, डाइनिङ रुम, एउटा बाथरुम–ट्वाइलेट, एउटा किचन हुन्छ,’ खोटाङकी रेखा भण्डारीले भनिन्, ‘छोरी मान्छे र परिवारलाई चाँडै कोठा वा घर दिने गर्छन् ।’
रेखा र श्रीमान् लेखबहादुरबीच पहिलो पटक ट्रिएस्टे सहरमै भेट भएको हो । विवाहपछि रेखा साइप्रस गएकी थिइन् । लेखबहादुर रोमानिया पुगे । तर उनीहरू दुवैले युरोपको सपना देखेका थिए । एकै ठाउँमा बस्ने योजना बुनेका थिए । दुवै बाल्कन मार्गको अलग–अलग फरक बाटो भएर ट्रिएस्टे पुगे । लेखबहादुर त्यहाँको जीर्ण भवनको चिसो भुइँमा दुई महिनादेखि रेखालाई पर्खेर बसिरहेका थिए । ‘दुई जनासँगै आवेदन दिएपछि परिवारको हैसियत पाइने रहेछ । परिवारलाई अलि छिटो क्याम्प मिल्दो रहेछ’, लेखबहादुरले भने, ‘एक महिनापछि बल्ल आवेदन दर्ता गर्न सफल भयौं ।’
उनीहरू १५ अगस्ट २०२३ देखि मलाला क्याम्पमा बसिरहेका छन् । परिवारले महिनाको ६५० युरो भत्ता पाइरहेको छ । ‘आफ्नै कोठा लिएर बाहिर बस्ने अवस्था छैन । बाहिर बस्दा धेरै खर्च हुन्छ । मेरो काम पनि छैन । श्रीमान्ले मात्रै काम गर्नुहुन्छ । यहाँ बस्नेहरूलाई दुई घण्टा भाषा पढाइन्छ । भाषा नआउँदा काम पाइँदैन,’ उनले भनिन्, ‘नियमित आठ घण्टाको राम्रो काम भयो भने क्याम्पबाट निकाल्छन् । काम भएन भने क्याम्पमै बस्न पाइन्छ । मेरो अहिले बच्चा पनि भएको छ ।बच्चा भएपछि मैले काम गर्न मिलेन । त्यसकारण पनि क्याम्पबाट बाहिर निस्कन सकेका छैनौं ।’
लेखबहादुरले एक वर्षभन्दा बढी क्याम्पमा बसेपछि मात्रै काम पाएको बताए । ‘जबकि यहाँ आएपछि काम थालिहाल्नुछ र पैसा कमाउन थाल्नु भन्ने सोचेको थिएँ । सँगै कार्ड पनि बनिहाल्छ जस्तो लागेको थियो,’ उनले भने, ‘हामीले कार्डका लागि मार्च २०२५ मै पहिलो अन्तर्वार्ता दिएका थियौं । तर, त्यसमा सफल भएनौं । अब २०२७ मा दोस्रो अन्तर्वार्ता दिन पाइन्छ भन्ने आसमा बसेका छौं ।’
उनका अनुसार कार्ड बन्न अझै गाह्रो छ । ‘सरकारको आफ्नै नियम हुन्छ । सरकारले जे नियम बनाउँछ, त्यहीअनुसार चल्नुपर्छ,’ उनले भने । आवेदनको प्रारम्भिक छानबिन र सुनुवाइ गर्ने तथा त्यसमा अन्तिम निर्णय लिने अधिकार शरणार्थीसम्बन्धी प्रादेशिक आयोगलाई हुन्छ । आयोगले अस्वीकृति गरेपछि दोस्रो पटक मौका दिइन्छ । इटलीभर त्यस्ता २० वटा प्रादेशिक आयोग छन् । प्रादेशिक आयोगले स्वीकृत गरे पछि राष्ट्रिय शरणार्थी अधिकार आयोगले अन्तिम निर्णय दिन्छ ।
नवलपरासीका विकास चौधरीले दुई पटक आवेदन अस्वीकृति भएपछि पुनरावेदन अदालतमा अपिल गरेको बताए । उनी २०२२ मा इटली पुगेका थिए । चार वर्ष बितिसक्दा पनि उनले शरणार्थी कार्ड पाएका छैनन् । ‘पहिलो सुनुवाइमा फेल भएपछि पुनरावेदन अदालतमा जानुपर्छ । त्यहाँ न्यायाधीशसँग आमनेसामने हुन्छ । पास गर्ने र फेल गर्ने उनमै निर्भर गर्छ,’ उनले भने, ‘पुनरावेदनमा पनि फेल भयो भने सर्वोच्चमा जानुपर्छ । मैले त्यसैका लागि वकिल राखेको छु । अहिलेसम्म एक हजार युरो जति खर्च भइसकेको छ ।’
उनी अस्थायी क्याम्पमा बसेका छैनन् । खेतीपातीको काम गरिरहेका छन् । ‘म सुरुको केही महिना पुरुष क्याम्पमा बसेको थिएँ । जहाँ एउटै कोठामा ५–६ जना राखिन्थ्यो । खाना र केही पकेट खर्च दिन्छ । तर, सुतेर खान विदेश आएको होइन । उता नेपालमा परिवार छ । पाल्नुपर्यो,’ उनले भने, ‘कमाइ गर्न भए पनि क्याम्प छोड्नुपर्यो । खेतमा काम गर्न धेरै सीप र भाषा चाहिँदैन । होटलतिर काम गर्न भने भाषा र सीप चाहिन्छ । खाना पकाउने, ग्राहकसँग बोल्ने, अर्डर बुझ्ने जस्ता कुरा जान्नुपर्छ । त्यसैले धेरै नेपाली सुरुमा खेतमै काम गर्छन् ।’
चौधरी काम गर्ने ठाउँमा १५ जना नेपाली छन् । उनीहरू कसैले पनि शराणार्थी कार्ड पाएका छैनन् । ‘हामी नेपालीहरू वास्तवमै शरणार्थीको मापदण्डभित्र पर्छौं कि पर्दैनौं भन्ने मुख्य कुरा रहेछ,’ उनले भने, ‘जस्तै एउटा देशमा आन्तरिक द्वन्द्व हुनुपर्यो । हाम्रो देशमा ०६२–६३ सालको जनआन्दोलन भयो । एक किसिमको द्वन्द्व थियो । त्यस्तो बेला मान्छे देश छोड्न बाध्य हुन्छ । पहिलेजस्तै भूकम्प आयो भने पनि देशको जनजीवन अस्तव्यस्त हुन्छ, रोजगारी हुँदैन, खानलाउन समस्या हुन्छ । त्यस्तो अवस्थामा पनि मान्छे देश छोड्न बाध्य हुन सक्छ । कि त एउटा देशले अर्को देशमा आक्रमण गरेको हुनुपर्यो ।’ उनको अनुभवमा पाकिस्तानी, अफगानीहरूले सजिलै कार्ड पाइरहेका छन् । ‘हाम्रो त अन्तर्वार्ता नै साढे दुई घण्टासम्म चल्छ । एउटा बन्दकोठामा चारैतिर सीसीटीभी हुन्छ । त्यहाँ नेपालबाट किन आयौ ? नेपालमा के गर्थ्यौ ? घरमा को–को छन् ? जस्ता धेरै प्रश्न सोधिन्छ । दोभाषेले इटालियनमा अनुवाद गरेर सुनाउँछन्,’ उनले भने, ‘अहिले त हामीहरूले अन्तर्वार्तामा शरणार्थीका लागि योग्य हुन चाहिने पर्याप्त आधार नै पेस गर्न नसकेको हो कि जस्तो लाग्न थालेको छ ।’
इटलीको आन्तरिक मन्त्रालयको सूचनाका आधारमा तयार गरिएको यूएनसीएचआरको प्रतिवेदनअनुसार २०२५ मा इटलीमा १ लाख २६ हजार ६ सय जनाले पहिलो पटक शरणार्थीका लागि आवेदन दिएका थिए । त्यो वर्ष ३० प्रतिशतको आवेदन मात्रै स्वीकृत भएको थियो । आवेदन स्वीकृत भएकामध्ये पनि ६ प्रतिशतले मात्रै शरणार्थीको दर्जा पाएका छन् । तीमध्ये ११ प्रतिशतले सहायक संरक्षण र १३ प्रतिशतले मानवीय संरक्षणको हैसियत प्राप्त गरेको यूएनसीएचआरले जनाएको छ । गम्भीर जोखिम (युद्ध, मृत्युदण्ड) मा परेकालाई सहायक संरक्षणको हैसियत दिइन्छ । त्यस्तै गम्भीर रोग, चरम गरिबी, प्राकृतिक प्रकोपलगायतका जोखिममा परेकालाई मानवीय संरक्षणको हैसियत दिइन्छ ।
युरोपेली संघ (ईयू) को तथ्यांकअनुसार युरोपभरिमा आवेदन स्वीकृत गर्नेमा इटली चौथो स्थानमा पर्छ । जबकि पूरै ईयूको औसत स्वीकृत दर ३९ प्रतिशतभन्दा यो निकै कम हो । यूएनसीएचआरले आफ्नो औपचारिक प्रतिवेदनमा इटलीको शरणार्थी प्रक्रियामा देखिएको कमी र ढिलाइलाई गम्भीर प्रणालीगत समस्याका रूपमा उल्लेख गरेको छ । यूएनसीएचआरले आवेदन प्रक्रिया समयमै पूरा नहुँदा उत्पन्न हुने जोखिम (जस्तैः बेघर हुनु, शोषणमा पर्नु) बारे चिन्ता व्यक्त गर्नुका साथै प्रक्रियालाई पारदर्शी तथा पहुँचयोग्य बनाउन निर्देशनसमेत जारी गरेको छ ।
रुकुमका हरिशरण वली शरणार्थी प्रक्रियामा सामेल भएकोमा पछुतो मानिरहेका छन् । उनी घर जान नपाएको चार वर्ष भइसकेको छ । अहिले उनी दोस्रो अन्तर्वार्ताको मिति पर्खिरहेका छन् । ‘घरमा पाका बुबाआमा हुनुहुन्छ । भाइबहिनी छन्, श्रीमती छन् । साना छोरी र छोरा छन् । उनीहरूसँग यति लामो समयसम्म कहिले टाढा भएको थिएन । घर जान नपाउँदा साह्रै पीडा हुन्छ । कहिलेकाहीं त यो कार्ड नै लिने बाटोमा नलागेको भए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने, ‘चार वर्ष बिताइसक्दा पनि सोचेजस्तो युरोपको जीवन पाएको छैन । हामीजस्ता मान्छेका लागि सधैं संघर्ष नै छ ।’

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)









