You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

गिरीबन्धुको 'प्लटिङ’ मा घडेरी लिन बैना बुझाएका तनावमा

- पर्वत पोर्तेल

(झापा)
भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–इस्टेटको जमिन खरिद गर्न लगानी गरेकाहरू सर्वोच्च अदालतको आदेशले अन्योलमा परेका छन् । सस्तो मूल्यमा आकर्षक ठाउँको जग्गा पाउने प्रलोभनमा परेर करोडौं रुपैयाँ बैना दिएका सर्वसाधारण पैसा फिर्ता नहुने चिन्तामा परेका हुन् ।
गिरीबन्धुको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले गत माघ २४ मा खारेज गरेको थियो । वैशाख २९ मा सर्वोच्चले हदबन्दी छुट पाएको उक्त जमिन दुरुपयोग गर्न मात्र होइन, बाँझो राखेको भेटिए सरकारकै स्वामित्वमा ल्याउने गरी परमादेश जारी गरेपछि जग्गा पाउने आसमा बिचौलियालाई पैसा बुझाएकाहरू तनावमा परेका हुन् ।


उनीहरूमध्ये कतिपयले बैना रकम फिर्ताका लागि ताकेता गर्न थालेका छन् भने पहुँच र प्रभाव नभएकाहरू पैसा फिर्ता नहोला कि भन्ने चिन्तामा छन् ।
जग्गा किन्न बैना रकम बुझाएकामध्ये झन्डै आधा दर्जनलाई कान्तिपुरकर्मीले भेटेको थियो । तीमध्ये धेरैजसो नाम सार्वजनिक गर्दा बिचौलियाले पैसा फिर्ता नदिने डरले खुलेर बोल्न चाहेनन् । केही कानुनी झमेलामा फसिने डरले सार्वजनिक हुन चाहेनन् । जग्गा किन्न लगानी गरेका बिर्तामोडका एक व्यवसायी भने नेता, व्यापारीदेखि सर्वसाधारणलगायत करिब ५ सय हाराहारीले गिरीबन्धुको जग्गा किन्न करोडौं लगानी गरेको बताउँछन् ।
चलनचल्तीको बजारभाउमा प्रतिधुर ५ देखि १० लाख रुपैयाँसम्म पर्ने जग्गाका लागि बैना बुझाउनेमा झापादेखि काठमाडौंसम्मका सर्वसाधारण छन् । उनीहरूमध्येकी एक हुन्, झापाको शिवगन्जबाट आएर बिर्तामोडमा होटल व्यवसाय गर्दै आएकी कल्पना लिम्बू । नयाँ बसपार्कसँगै जोडिएको १० धुर जमिन किन्ने सपनामा उनले चार वर्षअघि स्थानीय विष्णुबहादुर राईलाई बैना रकम बुझाएकी थिइन् । डेरामा बसेर व्यवसाय गर्दै गुजारा चलाइरहेकी उनले भनिन्, ‘विदेशमा रहेको भाइसँग मिलेर ५० लाखमा जमिन किन्न रकम बैना गरेका थियौं । अहिलेसम्म न रकम फिर्ता आयो न त जमिन नै ।’
बैना बुझाएका सर्वसाधारण रकम डुब्ने चिन्तामा भए पनि ठूला लगानीकर्ताहरू भने फरक भनाइ राख्छन् । गिरीबन्धुको जग्गा पाइने आसमा लगानी गर्ने सयभन्दा बढी ठूला व्यापारीको सूचीमा बिर्तामोडको शिवम् हाउजिङका प्रबन्धक मनोज प्रसाईं पनि एक हुन् । करोड हाराहारीमा लगानी गरेका उनी बैना फिर्ता हुनेमा ढुक्क छन् । ‘साना लगानीकर्तामध्ये कतिपयको फिर्ता गरिसक्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले हाम्रो पैसा फिर्ता गर्नुहुन्छ, त्यसमा ढुक्क छौं ।’
पूर्व–पश्चिम राजमार्गको बिर्तामोड–चारआली खण्ड वारपार देखिने गिरीबन्धु टी–इस्टेटमा हदबन्दीको प्रबन्ध खुला गर्दै जग्गा सट्टा भर्ना र बिक्रीवितरण गरिने भनिएपछि अर्बभन्दा बढीको जमिन बिक्रीको बैनाबट्टा भइसकेको छ । कान्तिपुरसँग सम्पर्कमा आएकामध्ये धेरैले बिर्तामोड वरिपरिकै करिब तीन सय व्यापारी र सर्वसाधारणले ५ लाखदेखि १० करोडसम्म लगानी गरेको बताए । बिर्तामोड बसपार्क क्षेत्रका एक व्यवसायीले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा आफूले लगानी गरेको ५ लाख बारम्बार ताकेता गरेर केही दिनअघि फिर्ता लिएको बताए । उनले पनि राईलाई नै रकम बुझाएका थिए । ‘१० धुरका लागि ५ लाख बैना गरेको थिएँ । धाउँदाधाउँदै पैसा लिएरै छाडें,’ उनले भने ।
भूपू सैनिक संघसम्बद्ध विष्णुबहादुर राई गिरीबन्धु जग्गाको व्यवस्थापन, बिक्री र साटफेर गर्ने/गराउनेमध्येका मुख्य साझेदार हुन् । यसअघि बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा बिक्रीवितरण र व्यवस्थापनको जिम्मेवारी पाएका उनी पछिल्लो समय गिरीबन्धुको जग्गाको बैना बुझ्न सक्रिय थिए । भदौको पहिलो साता कान्तिपुरसँग कुरा गर्दै उनले भनेका थिए, ‘गिरीबन्धुमा जेजति चियाबारी छ, यो यत्तिकै मासिने होइन । यसको सट्टाभर्ना जमिन र चिया खेतीको प्रबन्ध नगरी त्यत्तिकै स्थानान्तरण हुँदैन ।’ यस्तो विश्वास बताउने राई पछिल्लो समय भने सम्पर्कविहीन रहेको उनलाई बैना बुझाउनेहरूले बताए । अन्य बिचौलिया पनि सम्पर्कविहीन भएको स्थानीयको भनाइ छ । गिरीबन्धुको जग्गा व्यवस्थापनमा खटिएका राईलगायत व्यक्तिसँग सम्बन्ध भएका मनोज प्रसाईंहरू जस्ता धेरै व्यवसायीले लगानी नडुब्ने बताए पनि उनीहरूले फकाएर जग्गामा लगानी गराएका सर्वसाधारण आश्वस्त हुन सकेको देखिँदैन । जग्गा पाइने आसमा १५ लाख बैना बुझाएका बिर्तामोडका एक खुद्रा व्यापारीले रकम फिर्ता नहुने चिन्ताले सताएको बताए । ‘घर नजिकैका छिमेकी राईले लोभ देखाएपछि लगानी गरेर एक कट्ठामा जिन्दगीभरिको कमाइ खन्याएको थिएँ । अब पैसा कसरी फिर्ता लिने होला भन्ने चिन्ता लागेको छ,’ उनले भने ।
बिर्तामोडका सञ्जय प्रसाईं पाँच वर्ष जति दुबईमा बिताएपछि तीन वर्षअघि घर फर्किएका थिए । ‘स्वदेशमै केही गर्ने’ योजनाका साथ आएका उनको पनि १५ लाख बैना रकम गिरीबन्धुमा डुबेको छ । बिर्तामोडकै जग्गा दलाल राजु रायमाझीमार्फत उनले रकम लगानी गरेका थिए । ‘बैना बुझाएपछि विश्वास नलागेर वडामा कागज गर्छु भन्दा उनले मानेनन्,’ प्रसाईंले थपे, ‘कागज गर्दिनँ, बरु चेक दिन्छु । ६ महिनाभित्र जग्गा भएन भने पैसा फिर्ता गर्छु भने । अहिले बेपत्ता छन् ।’ रायमाझीले नयाँ बसपार्क क्षेत्रका एक दर्जन सर्वसाधारणबाट २ करोडभन्दा बढी बैना असुलेको प्रसार्इंको दाबी छ । ‘बैना दिएका मान्छेहरू मजस्तै पुर्पुरोमा हात राखेर बसिरहेका छन्,’ उनले थपे ।
भूमि व्यवस्था मन्त्रालयबाट चिया बगान सट्टापट्टाको अनुमति मिलेपछि बिर्तामोडका जग्गा कारोबारीहरू विष्णु राई, मनोज प्रसाईं, होटल व्यवसायी राजेन्द्र थापा, अटो मोबाइल्स व्यवसायी टुकेन्द्र अधिकारीलगायत व्यक्ति यो जग्गा बेच्नका निम्ति जोडिएका थिए । यी चार व्यवसायीमार्फत अन्य व्यक्ति थपिँदै लगानी बढ्दै गएको देखिन्छ, जसमा एमाले, कांग्रेस, माओवादीका नेता, कार्यकर्तादेखि जनप्रतिनिधिहरू पनि जोडिएका छन् ।
बिर्तामोड आवास कम्पनी नामक संस्था खोलेका राई यसअघि २०६० सालमा ५१ बिघा चियाबगान मासेर जग्गा प्लटिङ गर्नेमध्येका एक हुन् । बिर्तामोड आवास कम्पनीमा उनीसहित २७ जना साझेदार थिए । जग्गा किन्न पैसा लगानी गरेकाहरूका अनुसार विक्रेताको सञ्जालबाट गिरीबन्धुको झन्डै ३ सय ४४ बिघाको भित्रभित्रै कित्ता निर्धारण गरी १ बिघा बराबर १ सेयरका हिसाबमा बैनास्वरूप बिक्रीवितरण सुरु गरिएको थियो । जसमा एक सेयरको मूल्य ६ करोड रुपैयाँ निर्धारण गरिएको थियो ।
चिया बगानको जग्गा बेच्न स्थानीय रूपमा विष्णु राई र काठमाडौंमा दीपक मल्होत्रा सक्रिय भएका थिए । सस्तोमा जग्गा पाइने प्रलोभनमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंको परिवार पनि परेको थियो । मेयर प्रसाईंले विगतमा श्रीमान् हुँदैखेरी व्यापारी दीपक मल्होत्रालाई करोड रुपैयाँ बुझाएको कुरा सुनेको र श्रीमान्को मृत्युपछि मल्होत्राबाट आफूहरूले उक्त रकम फिर्ता पाइसकेको बताइन् । ‘विगतमा कारोबार थियो अहिले छैन,’ उनले भनिन् ।
बिर्तामोडका अटो मोबाइल्स व्यापारी टुकेन्द्र अधिकारीले निजी करिब ३० करोडसहित ५० करोड हाराहारीको रकम जग्गामा लगानी गरेको स्थानीय बताउँछन् । तर अधिकारी भने आफूले त्यत्रो रकम नहालेको दाबी गर्छन् । ‘केही करोड लगानी गरेको पक्कै हो । तर बजारमा सुनिएजस्तो रकम चाहिँ हल्ला मात्रै हो,’ उनले भने । कति जग्गा किन्न कति लगानी गरेको हो भन्ने चाहिँ खुलाउन नचाहे पनि अधिकारीमार्फत जग्गा पाइने आसमा बैना बुझाएहरू भने उनीसँग पैसा फिर्ता मागिरहेका छन् ।
चिया बगानको जग्गा किन्न करोडको हाराहारीमा लगानी गर्नेहरूमा अधिकांश बिर्तामोड, भद्रपुर, काँकडभिट्टा, धुलाबारी, सुरुंगा, दमकतिरका धनाढ्यहरू छन् । यतिबेला सबैजसो बैना रकम फिर्ताका लागि ताकेता गरिरहेका छन्् । केही भने बिर्तामोड नगरपालिकाभित्रैको अपायक जग्गा सकार्न बाध्य भइरहेका छन् । मनोज प्रसाईंमार्फत जग्गा किन्न १ करोड २० लाख बैना बुझाएका एक जना स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा लगानी भएको मितिदेखि अहिलेसम्मको १० प्रतिशत ब्याज पनि जोडेर गरामनीतिरको जग्गा लिनेबारे कुरा भइरहेको सुनाए । ‘चिया बगानको जग्गा नभएपछि त्यही पनि लिनुपर्‍यो भनेर मजस्ता धेरै लगानीकर्ता लागेका छन्,’ उनले भने ।
बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले झापाका कैयौं व्यापारीको पैसा चिया बगानमा डुबेको बताए । ‘व्यापारीहरूको पैसा जति चिया बगानको जग्गामा डुब्दा झापा आर्थिक मन्दीको चपेटामा छ । त्यो पैसा मात्रै उठ्ने हो भने झापा चलायमान हुनेथियो,’ उनले भने ।

मुख्य पृष्ठ

छानबिन समितिको क्षेत्राधिकार तोक्न कार्यदल

- कुलचन्द्र न्यौपाने

(काठमाडौं)
सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमत भएका छन् । दलहरूबीच मुख्य विवाद रहेको समितिको क्षेत्राधिकारको विषय भने चार सदस्यीय कार्यदलले टुंगो लगाउनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार साँझ बालुवाटारमा बोलाएको चार दलको बैठकले संसदीय समिति बनाउने समझदारी गरेको हो । बैठकमा समितिको क्षेत्राधिकारमा तीनवटा सहकारी र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने कांग्रेसले अडान लिएको थियो ।
सत्तारूढ दलले नमानेपछि कार्यदल तहबाट टुंगो लगाउन समझदारी बनेको हो । यो विषय टुंगो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल सदस्य हुने गरी कार्यदल बनाउने निर्णय भएको छ ।
बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय
समिति कुनै पनि हालतमा बनाउनै हुन्न भन्ने स्थितिबाट एमाले समिति बनाउने
ठाउँमा आइपुग्नु सकारात्मक भएको बताए । क्षेत्राधिकारका विषयमा भने आफ्नो पार्टीको पोजिसन कायम रहेको उनको भनाइ छ । ‘समितिको कार्यादेशका बारेमा गहिरो छलफल भएको छैन,’ उनले भने ।
कांग्रेस महामन्त्री गगन थापा ‘डेडलक’ को स्थितिबाट एक पाइला अघि बढे पनि मुख्य कुरा समितिको क्षेत्राधिकारमै अड्किएको बताउँछन् । क्षेत्राधिकार टुंगो नलागेसम्म संसद्मा कांग्रेसको अडान यथावत् हुने उनको भनाइ छ । ‘समिति बनाउने बिहीबार नै सहमति भइसकेको हो । क्षेत्राधिकारकै विषय नमिलेकाले रोकिएको थियो,’ थापाले भने ।

‘हामीले भनेको क्षेत्राधिकार नदिई बन्ने संसदीय समितिको कुनै अर्थ छैन । हाम्रो प्रस्तावअनुसार समझदारी भए कांग्रेस सदनका सबै कामकारबाहीमा विधिसम्मत ढंगले सहभागी हुनेछ, त्यसो नहुँदासम्म संसद्मा हाम्रो अडान यथावत् रहन्छ,’ थापाको भनाइ छ । रास्वपाले कांग्रेससँग सहमतिका लागि तीन बुँदामा क्षेत्राधिकारसहितको प्रस्ताव बिहीबार नै पठाएको थियो । प्रस्तावको पहिलो नम्बरमा सहकारी संस्थामा देखिएको संकट समाधानार्थ संसदीय छानबिन समिति बनाउने, दोस्रोमा सहकारी बचतकर्ताको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने र तेस्रोमा अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाही र सम्बन्धित सुझाव सिफारिस गर्ने उल्लेख थियो । त्यसलाई कांग्रेसले स्वीकार गरे सोही दिन लामिछानेले संसद्बाट समिति गठनको प्रस्ताव गर्ने योजना थियो ।
तर, रास्वपाको प्रस्ताव अमूर्त भन्दै कांग्रेसले आफ्नो ‘काउन्टर’ प्रस्ताव अघि सारेको थियो । छानबिन समिति बनाउने पहिलो बुँदामा कांग्रेस सहमत भए पनि दोस्रोमा संकटग्रस्त सहकारीका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न र जोखिममा रहेको तथा डुबेको बचत अविलम्ब फिर्ता गर्न आवश्यक उपायसहित सुझाव दिने कार्यादेश दिनुपर्ने प्रस्ताव थियो । तेस्रोमा सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मीलगायत सहकारीबाट अनुचित लाभ लिने एवं सहकारी ऐनविपरीत कार्य गर्ने वा गराउन मद्दत पुर्‍याउने व्यक्ति र गोर्खा मिडिया नेटवर्क प्रालि जस्ता कम्पनीका प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलगायत सेयर धनी एवं सञ्चालक समेतका बारेमा अध्ययन गरी कानुनी कारबाहीसम्बन्धी सुझाव र सिफारिस गर्ने गरी क्षेत्राधिकार तोकिनुपर्ने कांग्रेसको अडान थियो । अब यो विषय टुंगो लगाउने जिम्मा कार्यदलले पाएको छ । कानुनमन्त्री गिरीले क्षेत्राधिकारका विषयमा आइतबारदेखि कार्यदलले काम थाल्ने बताए । ‘समिति बनाउने कुरामा सहमति जुट्यो तर टीओआरका विषयमा छलफल थाल्छौं, आवश्यक परे अरू नेतासँग समन्वय गर्छौं,’ उनले भने । क्षेत्राधिकारमा तत्कालै सहमति जुट्ने सम्भावना कम भए पनि कांग्रेसले गृहमन्त्री लामिछानेलाई आइतबारको संसद् बैठकमा बोल्न दिने सम्भावना छ । ‘रविजीलाई २८ गतेकै बैठकमा बोल्न दिने निर्णय हामीले गरेका थियौं । तर, सत्तारूढ दलकै नेताहरूले रविजीले बोलिसकेपछि कसैले बोल्न पाउनुहुन्न भनेर अडान लिँदा समस्या भएको हो,’ ती पदाधिकारीले भने, ‘कार्यदल तहमा क्षेत्राधिकारका विषय नमिल्दासम्म हाम्रो अडानमा कायम रहन्छौं । रविजीको कुरामा चित्त नबुझे सदन अवरोध हुन्छ ।’ लेखकले भने कार्यदल तहले काम गरिरहेका बीचमा संसद्मा कांग्रेसको प्रस्तुति कस्तो हुने भन्नेबारे आइतबार तय हुने बताए ।
कार्यदलका सदस्यसमेत रहेका रास्वपा नेता खनालले कांग्रेस पछिल्लो पटक व्यक्तिको नाम नराख्ने दिशामा लचक भएकाले क्षेत्राधिकारका विषयमा कुरा मिल्न सक्ने बताए । ‘तर, यस दिशामा थप छलफल भएको छैन,’ उनले भने, ‘हाम्रो पार्टीको पोजिसन बिहीबार नै अघि सारेको तीन बुँदाको प्रस्ताव हो । त्यसमा कांग्रेस र रास्वपाबीच एक खालको समझदारी पनि भएको हो । खालि नाममा मात्रै अड्किएको थियो ।’
कांग्रेसका अर्का एक नेताका अनुसार प्रधानमन्त्री दाहालले सूर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मीको नाम मात्रै नराखेर संकटग्रस्त अन्य सहकारीको पनि नाम उल्लेख गर्न सकिने विकल्प सुझाएका छन् । ‘गृहमन्त्रीको नाम र तीनवटा सहकारीको नाम मात्रै राख्ने कुरालाई रास्वपा र एमालेले पनि स्वीकार नगर्ने भएकाले कि त संकटग्रस्त सबै सहकारीका नाम राखेर जाउँ, होइन भने समग्र संकटग्रस्त सहकारी भनेर जाउँ भन्ने प्रधानमन्त्रीको प्रस्ताव छ,’ कांग्रेसका ती नेताको भनाइ छ, ‘हामीले जहाँनेर शंका गरेर प्रश्न उठाइरहेका छौं, त्यसैमा प्रवेश नहुने गरी समिति बनाउनुको कुनै अर्थ छैन भन्दै आएका छौं । क्षेत्राधिकारको विषय अझै पेचिलो छ ।’ दलहरूबीच छानबिन समिति बनाउन सहमति भएपछि प्रधानमन्त्री दाहाललाई आगामी सोमबार संसद्बाट विश्वासको मत लिन सहज वातावरण बनेको छ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लागेका हुन् ।

मुख्य पृष्ठ

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने स्थिति आओस् भन्ने आफूले
नचाहेको बताएका छन् । कान्तिपुर हाफ म्याराथनको उद्घाटनपछि
शनिबार कान्तिपुरसँग कुराकानी
गर्दै प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने प्रयत्न गरिरहेको जनाउँदै नीति तथा कार्यक्रम, विश्वासको मत र बजेट प्रस्तुतिको विषयलाई गम्भीरताका साथ लिएको बताएका हुन् । बजेट कसरी ल्याउने भन्ने विषय संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसको हातमा रहेको पनि उनले बताए ।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभामा अवरोध गर्दै आएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस र सत्तारूढ दलहरू एमाले, माओवादी र रास्वपाबीच धकेलाधकेल भएको थियो । संसद्मा देखिएको यस्तो अवस्था अन्त्य गर्न आफू प्रयासरत रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
‘संसद्को अवरोध हटाउन प्रधानमन्त्रीको हैसियतले मैले प्रयास गरिराखेकै छु । आशा छ आइतबारदेखि सदन सुचारु हुने वातावरण बन्नेछ,’ दाहालले भने, ‘मेरो विचारमा त्यस्तो स्थिति (अध्यादेशमार्फत बजेट ल्याउने) नआओस् भन्ने नै प्रयास भइरहेको छ । अब त्यो स्थितिमा जान दिने या नदिने भन्ने कुरा मुख्यतः कांग्रेसको हातमा देख्छु । मैले चाहिँ अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने बिल्कुल चाहेको छैन ।’
प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउन गत बिहीबार नै समझदारी नजिक पुगिएको तर राजनीतिक दलभित्र एकमत नहुँदा टुंगोमा पुग्न नसकिएको बताए । ‘बिहीबारको दिन करिब–करिब समझदारीको नजिक पुगेको महसुस गरेको थिएँ । दुवै पक्षका केही प्रतिनिधिको अनौपचारिक कुराकानीमा झन्डै सहमति भएको थियो र सहमतिको नजिक पुगेको कुरा भनेको पनि थिएँ बाहिर । तर दुर्भाग्य अन्तिम समयमा त्यो रूपमा जान सकेन,’ उनले भने, ‘अनौपचारिक भएको छलफलमा करिब–करिब सहमति भएको थियो । अहिले हरेक राजनीतिक दलमा एक्स्ट्रिम लाइन छन्, अर्को मध्यमार्गी लाइन देखिन्छ । बालुवाटारबाट स‍ंसद् भवन जाँदासम्म त्यो सायद एक्स्ट्रिम प्रवृत्ति हाबी भयो ।’
मुलुकमा देखिएका समस्या समाधान दलहरूबीचको समझदारीमा नै खोज्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । सत्ता र प्रतिपक्षले संसदीय प्रक्रियालाई समझदारीपूर्वक अगाडि बढाउन तयार हुनुपर्ने उनको धारणा थियो । ‘सत्तापक्ष र प्रतिपक्षको बीचमा समझदारी भए त सबै प्रक्रियाबाटै टुंगिन्छ । संविधानविद् र कानुनविद्को राय लिँदा संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनु नै राम्रो हुन्छ भन्ने सुझाव आएपछि मैले विश्वासको मत जेठ ७ मा लिने भनेको छु । म आशा गर्छॅ, विश्वासको मत लिने क्रममा समझदारी नभए पनि पक्कै पनि प्रतिपक्षले अवरोध गर्नेछैन,’ उनले भने, ‘संविधानमै गरिएको अनिवार्य व्यवस्था भएको हुनाले त्यसलाई पनि रोक्दा त कांग्रेस आफैंलाई धेरै घाटा हुन्छ जस्तो लाग्छ, सायद उहाँहरूले त्यस्तो गर्नॅहुन्न ।’
प्रधानमन्त्रीले बजेट ल्याउने विषयमा कांग्रेसले बाधा नपुर्‍याउने पनि अपेक्षा गरे । ‘बजेट ल्याउने पनि संविधानकै व्यवस्था हो, जेठ १५ मा बजेट ल्याउनैपर्छ । नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वाचन भइसकेको छ । वाचन हुनु आफैंमा एक किसिमको समझदारी हो । त्यसअनुसारको बजेट ल्याउने कुरामा पनि प्रतिपक्षले सम्भवतः बाधा हालेर देशलाई अनिर्णयको बन्दी त बन्न दिनेछैन,’ उनले भने ।
सहकारीको विषयमा सदनमा भइरहेको अवरोध राजनीतिक हो कि भन्ने आफूलाई लागेको पनि प्रधानमन्त्रीले बताए । सत्ता समीकरण परिवर्तन भई गत फागुनमा कांग्रेस प्रतिपक्षमा गएको थियो भने प्रतिपक्षमा रहेका एमाले र रास्वपा सरकारमा गएका थिए । लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा आएपछि कांग्रेसले सहकारीको बचत हिनामिनामा संलग्न रहेको भन्दै सदन अवरुद्ध गर्न थालेको थियो । उसले लामिछानेमाथि नै छानबिन गर्नॅपर्ने कार्यादेशसहित संसदीय समितिको माग गर्दै आएको छ । तर, प्रधानमन्त्रीले भने लामिछानेमाथि राजनीतिक रूपमा उक्त आरोप लगाइएको दाबी गरे । ‘जुन विषय उठाएर अहिले सदन अवरुद्धको स्थितिमा पुर्‍याइएको छ, त्यसो गर्नॅपर्ने होइन भन्ने मेरो बुझाइ छ । त्यो विषय नयाँ समीकरण बनेपछि मात्रै उठेको होइन । तपाईंहरूकै मिडियाले यो विषयलाई उठाएको धेरै भयो । जतिबेला कांग्रेस गठबन्धनमै थियो, सरकारमै थियो । यो विषय उठिराखेकै थियो, छलफल चलिराखेकै थियो । तर सदन अवरुद्धतिर जाने गरेको थिएन । नयाँ समीकरणपछि यसलाई यसरी हाइलाइट गरियो, गर्न खोजियो, सदन अवरुद्धको स्थितिमा पुग्यो,’ प्रधानमन्त्री दाहालले भने, ‘योभित्र कहीं न कहीं राजनीतिक अभिप्रायले काम गरेको छ भन्ने देखिएको छ ।’
सहकारी बचत अपचलनको प्रकरण चलिरहेकै बेला पनि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको आफूले पनि जानकारी पाएको दाहालले बताए । ‘प्रधानमन्त्री बन्न तत्काल तयार नभएपछि यो विषयलाई उठाइयो भने कहीं न कहीं राजनीतिले काम गरेको छ भन्ने त देखिएको छ । तर त्यसो भनेर फेरि सदन अवरुद्ध भइसक्या छ, विषय उठिसक्या छ, त्यसकारण यसको समाधानको उपाय खोज्नुपर्छ भन्नेमा म प्रस्ट छु,’ दाहालले भने । पछिल्लो समय उपप्रधान तथा गृहमन्त्री लामिछानेले छानबिन समिति बनाएर समाधान गर्दा हुन्छ भनेकाले पनि संसद्को अवरोध अन्त्य हुनेमा आफू विश्वस्त रहेको दाहालले बताए ।
संसद् सञ्चालनका क्रममा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्वको स्थिति नआओस् भन्नेमा आफू सजग रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले बिहीबारको जस्तो वातावरण आउन नदिनका लागि सभामुख देवराज घिमिरेसँग पनि निरन्तर छलफलमा गरिरहेको जानकारी दिए । ‘कतिपय सन्दर्भमा सहमतिअनुसार काम नभएका अनुभव पनि छन् । त्यसले अलिकति वातावरण तीतो भएको अनुभव पनि छ, भविष्यमा त्यस्तो नहोस् भन्नका निम्ति हामी सतर्क छौं ।’

 

Page 2
म्यागेजिन

बीपीको ढाडसले जोगिएको कृष्ण पाउरोटी

- प्रकृति दाहाल

(काठमाडौं)
नेपालमा पाउरोटीको स्वाद चखाउने पहिलो व्यक्ति हुन्– कृष्णबहादुर राजकर्णिकार । उनले सात दशकअघि पाउरोटी उत्पादन सुरु गरेका थिए । यो व्यवसाय उनका छोराहरूमा पुस्तान्तरण हुँदै अहिले नातिनीहरूको हातमा आइपुगेको छ । यतिबेला कृष्णबहादुरका कान्छा छोरा ८३ वर्षीय घनश्याम राजकर्णिकारको नेतृत्वमा उनका तीन छोरीले हजुरबुवाको विरासत धानिरहेका छन् । नयाँ पुस्तामा आइपुगेको यो व्यवसाय अहिले नयाँ ढंगले अगाडि बढिरहेको छ । पाउरोटीको नाममा पहिचान बनाए पनि समयको मागसँगै यसले उत्पादनमा विविधता थप्दै लगेको छ । कृष्ण पाउरोटी भण्डारले अहिले केक, पेस्टिज, कुकिज, बिस्कुटजस्ता
२ सयभन्दा बढी बेकरी उत्पादन गरिरहेको छ ।
राजकर्णिकारको पुर्ख्यौली पेसा मिठाई व्यापार थियो । जंगबहादुरको दरबारमा मिठाईको स्वाद चखाउने कृष्णबहादुरका हजुरबुवा गजराज राजकर्णिकार थिए । गजराजलाई जंगबहादुर राणाले आफ्नो निजी हलवाईमा नियुक्त गरे । उनको मृत्युपश्चात् वीरशमशेरको लालदरबारमा कृष्णबहादुरका बुवा हीरामान सिंहले यो जागिर पाए । हीरामानको मृत्युपश्चात् यो पेसा आफ्ना पिता कृष्णबहादुरले सम्हालेको घनश्याम बताउँछन् । उनका अनुसार कृष्णबहादुरले इन्दुशमशेरको दरबारमा हलवाई पदमा नियुक्ति पाएका थिए ।
राणा शासनकालमा जुद्धशमशेरको समयमा आइपुग्दा राणाहरूको श्रेणी विभाजन गरियो । ‘ग’ वर्गका राणाहरूलाई काठमाडौंबाहिर धपाउने क्रममा इन्दुशमशेर इलामको बडाहाकिम बनाएर पठाइए । उनीसँगै कृष्णबहादुर पनि इलाम पुगे । घनश्यामका अनुसार २००० सालतिरको कुरा हो, हीरा र मूल्यवान् वस्तुहरू हराएको कन्तुर कृष्णबहादुरले फेला पारेपछि इन्दुशमशेरले तराईको ५० बिघा जग्गा दिने निर्णय गरे । तर कृष्णबहादुरले उक्त जग्गा पाएनन् । विभिन्न छलकपट गरी अरूकै नाममा जग्गा नामसारी भइसकेको रहेछ । ‘त्यसपछि अब राणाहरूको चाकडीमा लाग्दिनँ भनेर पिताजी काम खोज्न कोलकाता पुग्नुभएछ,’ घनश्याम भन्छन्, ‘त्यहाँ पनि काम नपाएर धेरै भौंतारिनु भएछ ।’ घर फर्किने सोचमा कृष्णबहादुर जब कोलकाताको कालीमन्दिर दर्शन गर्न पुगे, उनको यात्रा मात्रै बदलिएन, जीवनको बाटो नै
फेरियो । कोलकातामा कुहिरोको कागझैं हराइरहेका उनले बाटो पहिल्याए र पाउरोटी फ्याक्टीमा पुगे ।
‘मन्दिरको भीडमा च्यापिएकी एक बालिकाको उद्धार बुवाले गर्नुभएछ, ती बालिकाका पिता पाउरोटी फ्याक्टीमा मिस्त्री रहेछन्,’ घनश्यामले भने, ‘मेरा पिताले बालिकाको उद्धार गर्नुभएका कारण उहाँ पाउरोटी फ्याक्ट्रीसम्म पुग्नुभएको रहेछ ।’ त्यसपछि कोलकाताको प्रख्यात अंग्रेजी बेकरी ‘फर्पोज’ कम्पनीसँग जोडिन पुगे । कोलकातामा पाउरोटी बनाउन हात बढाइरहेका कृष्णबहादुरको भित्री सोच भने नेपालमा पुगिसकेको थियो ।

वि.सं. २००३ मा कृष्णबहादुर पाउरोटी बनाउने सीप सिकेर नेपाल फर्किए । कतिखेर पाउरोटी उत्पादन गर्ने भन्ने हुटहुटी उनको मनमा बढिसकेको थियो । उनीसँग सीप थियो, ज्ञान थियो तर लगानी गर्ने सामर्थ्य थिएन । ६ छोराछोरी धौ–धौले हुर्काइरहेका थिए । परिवारको आर्थिक अवस्था नाजुक थियो । तर पनि उनले आँट र हिम्मत हारेनन् । श्रीमतीका गहना बन्धकी राखेर २ हजार ६ सय रुपैयाँ निकाले । त्यसबाट कमलपोखरीस्थित आफ्नै घरमा पाउरोटी उत्पादनको सोचलाई पूर्णता दिनेतिर लागे । आफ्नै नामबाट पाउरोटी र उद्योगको नामकरण गरी २००५ साउन १० बाट पाउरोटी उत्पादन सुरु गरे । ‘पाउरोटी उत्पादन गर्नलाई आमाको योगदान अमूल्य थियो,’ घनश्यामले भने, ‘गहना बन्धकी राखेर पिताजीलाई उहाँले नै हौसला दिनुभएको हो ।’
भारत जानेआउनेलाई पाउरोटीको स्वाद थाहा थियो तर आमनेपालीका लागि त्यतिबेला पाउरोटी नयाँ चिज थियो । कृष्णबहादुरले चिया र पाउरोटीको एकसाथ व्यापार गर्न थाले । घनश्यामका अनुसार त्यही समयदेखि नै चियामा पाउरोटी चोपेर खाने चलन सुरु भएको हो । नयाँ व्यवसाय सुरु गर्नु र त्यसलाई स्थापित गर्दै अगाडि बढ्न आफ्ना पितालाई सहज भने नभएको उनी बताउँछन् । सुरुवाती समयमा पाउरोटीका बारेमा थुप्रै अफवाह पनि फैलिएका थिए । घनश्यामका अनुसार त्यसबेला भारतमा पाउरोटीलाई ‘पावरोटी’ भनिन्थ्यो । त्यही शब्दको नेपाली नाम ‘पाउरोटी’ हुन पुगेको हो । भारतमा खुट्टाले मुछिने भएकाले ‘पावरोटी’ भनिने उनले बताए । पाउरोटी बनाउनका लागि पिठो मजाले मुछ्नुपर्ने भएकाले भारतमा रबरको बुट लगाएर बनाउने गरेको कृष्णबहादुरले आफूलाई सुनाएको घनश्यामले बताए ।
सुरुमा कृष्ण पाउरोटी बजारमा जान थालेसँगै हल्ला फैलियो, ‘खुट्टाले पिठो मुछेर बनाइने पाउरोटी खुवाइँदैछ ।’ खुट्टाले बनाएको भनेर पाउरोटीप्रति आममानिसमा घृणा उत्पन्न गराइयो । यसले कृष्णबहादुरलाई मानसिक रूपमा आघात नै पार्‍यो । ‘पिताजी धार्मिक स्वभावको भएकाले पाउरोटी बनाउन कहिल्यै पनि खुट्टाले पिठो मुछ्न दिनु भएन,’ घनश्यामले भने, ‘होचा टेबल बनाएर त्यसमा निहुरेर पिठो मुछ्ने व्यवस्था मिलाउनुभएको थियो ।’
यो हल्ला सेलाउन नपाउँदै पाउरोटीमा जाँड मिसाइने गरेको हल्ला फैलाइयो । पाउरोटी फुलाउन प्रयोग गरिने ‘हप्स’लाई जाँडको संज्ञा दिएर यस्तो हल्ला चलाइएको थियो । ‘त्यतिबेला हप्स कोलकाताबाट मगाउनुपर्थ्यो । यसलाई पानीमा राखेर उमालेपछि सेतो आकार दिन्थ्यो,’ घनश्यामले भने, ‘यसले पाउरोटीलाई हल्का अम्लीय बनाउँथ्यो ।’

पाउरोटी खुट्टाले बनाएको र जाँड मिसाएको अफवाह फैलिरहँदा पाउरोटीको व्यापार पनि ओरालो लाग्न थाल्यो । त्यही समयमा कृष्णबहादुरलाई ढाडस दिन आइपुगे कांग्रेस नेता बीपी कोइराला । चिया पसल भएकाले कोइरालाको ओहोरदोहोर चलिरहन्थ्यो । प्रजातन्त्रका लागि लडिरहेका
कोइरालाले प्रजातन्त्र स्थापनासँगै भारतमा आवतजावत बढ्ने र पाउरोटी खाने चलन बढ्दै जाने भएकाले यसलाई तत्काल बन्द नगर्न आग्रह गरेको घनश्याम सुनाउँछन् । ‘त्यतिबेला कृष्ण पाउरोटी बचाउन बीपी कोइरालाको ढाडस र प्रेरणा महत्त्वपूर्ण रह्यो,’ उनले भने, ‘हरेस खाइसकेको व्यवसाय उहाँकै प्रेरणाले फेरि जुर्मुराएको थियो ।’ कृष्णबहादुरले
आफ्नो उत्पादन शुद्ध छ भनेर प्रमाणित गर्न सूचनापाटीमै लेखेर टाँसे ः ‘हातले मुछेको चोखो पाउरोटी, हप्सबाट बनेको शुद्ध पाउरोटी र सबैले खान हुने पवित्र पाउरोटी ।’
पाउरोटीको सकारात्मक सूचना प्रवाहसँगै व्यापार पनि बढ्न थाल्यो । त्यतिबेला पाउरोटीको मूल्य एक पाउन्डको २५ पैसा थियो । बीपीको हौसलापछि परिवार नै पाउरोटी व्यवसायमा लाग्यो । त्यसपछि पाउरोटी व्यापारबाट नै
आफ्नो परिवारको आर्थिक अवस्था सुध्रिँदै गएको घनश्यामले बताए । ‘त्यसपछि हामीले पाउरोटीलाई पसलमा मात्रै सीमित राखेनौं, खर्पनमा बोकाएर इन्द्रचोक, क्षेत्रपाटीजस्ता स्थानमा पुर्‍याउन थाल्यौं,’ उनले भने, ‘सुरुवाती चरणमा १०/१२ रुपैयाँबाट सुरु गरेको व्यवसाय २०११ सालसम्म आइपुग्दा दैनिक ५ देखि ८ सय रुपैयाँसम्मको व्यापार हुन थाल्यो ।’ पाउरोटीको माग बढ्दै जाँदा हातले बनाएर मात्र माग धान्न सक्ने अवस्था रहेन । त्यसपछि २०१६ सालमा बेलायतबाट पिठो मुछ्ने मेसिन नै झिकाइयो । ‘मेसिन घरमा आइपुग्दा बुवाको निधन भयो,’ घनश्यामले भने, ‘घरसम्म मेसिन ल्याउन उहाँ सफल हुनुभयो तर दुर्भाग्यवश उक्त मेसिन उहाँले देख्न पाउनु भएन ।’
२०२० सालसम्म आइपुग्दा पाउरोटी पकाउने आधुनिक चुल्होसहित अन्य मेसिनहरू पनि बेलायतबाट झिकाइयो । २०२२/२३ सालतिर राजा महेन्द्रको दरबारमा पनि पाउरोटी जान थाल्यो । ‘त्यसपछि त ब्रान्डिङ नै गर्नुपरेन, राजाले खाने पाउरोटी भनेर प्रख्यात भयो,’ घनश्यामले भने, ‘राजाले पाउरोटी खान थालेपश्चात् व्यापार दिन दुई गुना रात चौगुनाका हिसाबले बढ्दै गयो ।’ पाउरोटी उद्योगको जिम्मा छोराहरूको हातमा आएपछि आधुनिकीकरणको रूप लिन थालेको पनि घनश्याम बताउँछन् ।
घनश्याम राजकर्णिकार २०२९ मा औद्योगिक व्यवस्थापन विषयको तालिम लिन जर्मनी पुगे । फर्किंदा १३ वटा सानाठूला अत्याधुनिक मेसिन लिएर आए । मेसिन भित्रिएसँगै उत्पादन क्षमतामा पनि वृद्धि भयो । उनका अनुसार २०३५ सालसम्म कृष्ण पाउरोटीको एकछत्र राज रह्यो । साइकल र भ्यानमा सहरका कुना–कुनामा कृष्ण पाउरोटी पुग्न थाल्यो ।

व्यवसायले सफलताको उचाइ लिइरहँदा कृष्ण पाउरोटी भण्डार पारिवारिक झमेलामा पनि फस्दै गयो । २०३८ सालमा घरको मूली जेठो छोरा गणेशबहादुरको मृत्युपश्चात् उद्योग जटिल मोडमा पुग्यो । कुशल र व्यावहारिक व्यक्ति गुमाएसँगै व्यवसाय पनि अव्यावहारिक रूपमा अगाडि बढ्न थालेको घनश्याम बताउँछन् । अंशबन्डा गर्दै जाँदा व्यवसाय आर्थिक रूपले कमजोर भयो । २०४६/४७ सालमा आइपुग्दा साइँला छोरा महाजन र कान्छा घनश्यामको नेतृत्वमा आइपुग्यो, जुन बेला व्यवसाय टुक्रिसकेको थियो । व्यवसाय बचाउनलाई दुई भाइको प्रयास रह्यो । २०५३ सालमा साइँला दाइको मृत्युपश्चात् व्यवसाय घनश्यामको काँधमा आइपुगेको हो । उनलाई बुवाको विरासत धान्नु थियो तर उनीसँग केही आधार थिएन । जर्मनीबाट ल्याएको मेसिन कवाडीको दाममा बेच्नुपरेको तीतो अनुभव उनले सुनाए ।
‘त्यसपछि डुबिसकेको व्यवसायलाई बिस्तारै
अगाडि बढाएँ,’ घनश्यामले भने, ‘२०७२ मा म आफैं अध्यक्ष र छोरीहरूलाई सञ्चालकमा नियुक्त गरी ‘कृष्ण पाउरोटी भण्डार प्रा.लि.’ नाममा पुनः दर्ता गराई नातिनी पुस्तामा हस्तान्तरण गरेको हुँ ।’

म्यागेजिन

नातिनी पुस्ताले हाँकेको विरासत

- कान्तिपुर संवाददाता

घनश्याम राजकर्णिकारका पाँचमध्ये तीन छोरीले अहिले कृष्ण पाउरोटी भण्डार हाँकिरहेका छन् । घनश्यामको इच्छा छोरीहरूले जागिर खानुभन्दा पुर्ख्यौली व्यवसायलाई धानून् भन्ने थियो । सोही अनुसार उनका छोरीहरूले यस व्यवसायलाई अगाडि बढाइरहेका हुन् । फाइनान्सदेखि बैंकको जागिर छोडेर उनीहरू अहिले यस व्यवसायलाई अघि बढाउन लागिपरेका छन् । साइँली छोरी प्रज्ञा काठमाडौंको एक फाइनान्स कम्पनीको अधिकृत थिइन् । काइँली सृष्टि विदेशबाट फर्किएर ग्लोबल आईएमई बैंकको अधिकृत बनिन् । कान्छी पूजा सिभिल बैंकमा कार्यरत थिइन् । तीनै दिदी–बहिनीले एक मन बनाएर जागिर छोडे र उद्योगलाई अगाडि बढाउने निर्णय गरे । ‘छोरी भएका कारण हामीमाथि थुप्रै प्रश्न उठे,’ पूजा भन्छिन्, ‘हाम्राअगाडि चुनौतीका पहाड ठडिए । तर, हरेस खाएनौं । समस्यासँग जुझ्दै अघि बढ्यौं ।’
पुरानो शैलीमा चलिरहेको पाउरोटी भण्डारले आफूहरूको आगमनसँगै नयाँ रूपरंग पाएको उनीहरू बताउँछन् । अहिले पाउरोटी भण्डारमा पूजाले टेक्नोलोजी, सृष्टिले एकाउन्ट र प्रज्ञाले उत्पादन क्षेत्र हेरिरहेका छन् । ‘यसअघि खास कुनै नीति–नियम थिएन, व्यवस्थापन पनि चुस्त लागेन,’ प्रज्ञा भन्छिन्, ‘उत्पादनको गुणस्तरदेखि विभिन्न सफ्टवेयर विकास गरेर व्यवसायलाई डिजिटलाइजेसन गर्दै अगाडि बढ्ने प्रयत्न गरिरहेका छौं ।’
६ दशकसम्म कमलपोखरीमा सीमित रहेको कृष्ण पाउरोटी उद्योगलाई विस्तार गर्ने योजनाअनुरूप १० वर्षअगाडि पहिलो पटक भैंसेपाटीमा आउटलेट खोलिएको थियो । व्यापार सहरमा र भीडभाडमा मात्र सञ्चालन हुन्छ भन्ने बुवा पुस्ताको सोचाइलाई छोरीहरूले चुनौती दिएका थिए । उक्त आउटलेटले एक वर्षमै नाफा पनि आर्जन
गर्‍यो । ‘सुनसान बस्तीमा आउटलेट खोल्न बुवाले मान्नुभएको थिएन,’ प्रज्ञा भन्छिन्, ‘त्यसैले यो हाम्रा लागि चुनौती थियो तर छोटो समयमा नै सफल भयौं, जहाँ बेकरी छैन त्यहाँ हामी पुग्नुपर्छ भन्ने हाम्रो योजना छोटो समयमै
सफल भयो ।’
कृष्ण पाउरोटी भण्डार यतिबेला काठमाडौंबाट ललितपुरसम्म फैलिरहेको छ । इमाडोल, सातदोबाटो, खुमलटार र भैंसीपाटीमा ४ आउटलेट सञ्चालनमा छन् । हात्तीवनमा फ्रेन्चाइजमा सञ्चालित छ । नयाँ पुस्ताको हातमा व्यवसाय आइपुग्दा कृष्ण पाउरोटी भण्डार पाउरोटी उत्पादनमा मात्र सीमित छैन, माग र समयअनुसार २ सय किसिमका बेकरी आइटम उत्पादन गरिरहेको छ । छोरीहरूको मुख्य लक्ष्य नै युवापुस्तामा पुग्नु छ । ब्रान्ड बुझाउनु छ । ‘अहिलेको युवापुस्ता कृष्ण पाउरोटीबारे जानकार छैन,’ सृष्टि भन्छिन्, ‘त्यसैले युवापुस्तासम्म पुग्नका लागि विद्यार्थीलाई बेकरी भिजिट गराउनेदेखि कृष्ण पाउरोटी भण्डारको इतिहास बुझाउने प्रयास गरिरहेका छौं ।’
नयाँ पुस्ता पाउरोटीमा विविधता खोजिरहेको पूजा बताउँछिन् । ‘अहिलेको युवापुस्ता हेल्थ कन्सस छ,’ उनले भनिन्, ‘शुभकामना आदानप्रदानमा कार्ड बाँड्ने चलन अहिले केकमा पुगेको छ, हरेक सेलिब्रेसन केकमार्फत हुन थालेको छ ।’

 

Page 3
Page 4
सम्पादकीय

लूबाट जोगिऔं, जोगाऔं

निरन्तर गर्मी बढिरहँदा तराई–मधेशको जनजीवन व्यापक मात्रामा प्रभावित भइरहेको छ । धेरै ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । तातो सुक्खा हावाको लहर अर्थात् ‘लू’ चल्न थालेको छ । त्यस क्षेत्रमा तत्काल वर्षा भइहाल्ने सम्भावना पनि देखिएको छैन । त्यसैले तापक्रम अझै बढ्न सक्छ । यसै पनि विज्ञहरूले यो वर्ष औसतभन्दा बढी तातो हुने अनुमान गरिरहेका छन् । यस्तो अवस्थामा मानिसलाई लूबाट जोगाउन उच्च होसियारी र व्यापक सचेतनाको खाँचो परेको छ । विपद्कै अवस्था आइपर्दा के गर्ने भनेर सरकारले प्रतिकार्य व्यवस्था पनि मिलाइहाल्न जरुरी छ ।
संयुक्त राष्ट्रसंघको विपद् जोखिम न्यूनीकरण कार्यालयले लूलाई जलवायुजन्य विपद् मानेको छ । नेपालकै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले पनि लूलाई विपद् रूपमा उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतका समथर मैदानी क्षेत्रमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी र पहाडी क्षेत्रका लागि ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम पुग्नुलाई लू भन्ने गरिन्छ । हामीकहाँ भने कति तापक्रम पुग्नुलाई लू मान्ने भनेर किटान गरिएको छैन । अन्य विपद्सरह लूलाई प्राथमिकताका साथ चासो दिएको पाइँदैन । लूबाट जोगिन अपनाउनुपर्ने सजगता र प्रतिकार्यका विषयमा खासै गृहकार्य भएको देखिँदैन । तर बेवास्ता गरिरहेकै लू कुनै पनि बेला ठूलो विपद् बन्न सक्छ ।
लूका कारण मानिसले ज्यान गुमाएका घटना थुप्रै छन् । लूले पुर्‍याएको क्षतिका विषयमा नेपाल सरकारसँग यकिन तथ्यांक नभए पनि संयुक्त राष्ट्रसंघको विपद् जोखिम न्यूनीकरण कार्यालयको ‘डेसिन्भेन्टर डटनेट’मा उपलब्ध विवरणअनुसार २०२९ जेठ २४ देखि २०६९ भदौ २ सम्म २३ जिल्लामा लूका ४९ वटा घटना भएका थिए, जसबाट ४५ जनाको मृत्यु भएको थियो । डेसिन्भेन्टरले पछिल्लो समय तथ्यांक राख्न छाडेको छ । त्यसैले सरकारले लूका विषयमा तथ्यांक अद्यावधिक गर्ने संयन्त्र तयार गर्न जरुरी छ । यकिन तथ्यांकले जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि रणनीति बनाउन सहज बनाउँछ ।
चिकित्सकहरूका अनुसार तापक्रम अत्यधिक बढ्नेबित्तिकै शरीरमा पसिना आउने, पानीको कमी हुने, सास फेर्न गाह्रो हुने र रगत जम्ने अवस्था बन्छ । विज्ञहरू अत्यधिक टाउको दुखे, रिँगटा लागे, बान्ता भए तत्कालै स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्न सुझाउँछन् । गर्मीमा बालबालिका र वृद्धवृद्धा बढी जोखिममा पर्छन् । गर्मी चर्किएसँगै तराई–मधेशका अस्पतालमा बिरामी बालबालिका र वृद्धवृद्धाको संख्या बढ्न थालिसकेको छ । त्यसैले सबै अस्पताललाई बिरामीको भरपर्दो उपचारका लागि तम्तयार राख्न जरुरी छ । भरसक कोही पनि बिरामी पर्ने अवस्था नआओस् भनेर आम सर्वसाधारणलाई सतर्क पार्न आवश्यक छ ।
विज्ञहरू गर्मी अत्यधिक हुने दिउँसोको समय भरसक घरभित्रै वा चिसो स्थानमा बस्न, निस्कनै परे टाउको छोप्न वा टोपी लगाउन, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने, जंकफुड नखाने सल्लाह दिन्छन् । तर यस्तो सल्लाह घर–घरसम्म पुर्‍याउन जरुरी छ । गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले लूबाट जोगाउन स्वयंसेवक खटाएर घरदैलो अभियान चलाइरहेको छ । स्वयंसेवकहरूले अत्यधिक गर्मीबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य समस्या परे कहाँ सम्पर्क गर्ने जस्ता विषयमा जानकारी दिन्छन् । गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आम नागरिकलाई लूबाट जोगाउन सन्देशमूलक सामग्री प्रसार गरिरहेका छन् । यी पहल सकारात्मक छन् तर पर्याप्त छैनन् । जनचेतनाका लागि स्थानीय सरकारकै सक्रिय अग्रसरता महत्त्वपूर्ण हुन्छ । जिल्ला विपद् व्यवस्थापन समिति पनि सक्रिय बन्न जरुरी छ ।
जलवायु परिवर्तनका कारण विश्व तापमान नै बढिरहेको छ । नेपालमा हरेक वर्ष ०.०५२ प्रतिशतका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको अभिलेख छ । यस वर्ष हिउँद १८ वर्षयताकै सुक्खा थियो । त्यसपछि पनि नियमित वर्षा भएको छैन । तत्काल वर्षा गराउने प्रणाली विकास भइनसकेकाले अझै केही दिन तराई–मधेशमा वर्षा हुने सम्भावना देखिएको छैन । अत्यधिक गर्मी हुँदा वा तातो हावाको लहर चल्दा जोगिनुको विकल्प हामीसँग छैन । यस्तो समस्या यसपालि मात्र होइन, फेरि–फेरि पनि आउन सक्छ । त्यसैले सरकार पनि विपद् आइसकेपछि मात्र जुरमुराउने होइन, विपद्बाट कम क्षति हुने वातावरण निर्माणका लागि बेलैमा दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्छ ।

 

सम्पादकलाई चिठी

टी–इस्टेटको अनियमिततामा कहिले कारबाही ?

कान्तिपुरमा बिहीबार प्रकाशित ‘ऐन मात्र होइन, आफैं जारी गरेको नियमावली मिचेर गिरीबन्धुलाई जग्गा साटफेर अनुमति’ शीर्षकको समाचार पढ्दा साह्रै दिक्क लाग्यो । झापास्थित गिरीबन्धु टी–इस्टेटको झन्डै ३ सय ४४ बिघा जग्गा तत्कालीन सरकारले आफैंले बनाएको नियमावली मिचेर साटफेर गर्ने अनुमति दिएको रहेछ । हदबन्दीबाट छुट पाएको जग्गा साटफेर तथा बिक्री वितरण गर्न दिन मिल्ने गरी २०७६ सालमा संसद्बाट ऐन बनेको थियो । त्यसअघि कुनै निश्चित प्रयोजनका लागि हदबन्दीबाट छुट पाएको जग्गा बिक्री वितरण गर्ने वा साटफेर वा अन्य हक हस्तान्तरण गर्न निषेध थियो । संशोधित ऐनका आधारमा सम्बन्धित मन्त्रालयले जारी गरेको नियमावली मिचेर केपी शर्मा ओली सरकारले चिया बगानको जग्गा साटफेर गर्ने अनुमति दिएको रहेछ । साटेर लिइने जग्गाको उद्योगले दिँदै आएको रोजगारीको संख्या नघट्ने, साविकको भन्दा क्षेत्रफल र उत्पादन घट्न नहुने र वातावरणीय मूल्यांकन हुनुपर्ने भनी नियमावलीमा स्पष्ट व्यवस्था छ । तर साटफेर गरिने जग्गा कहाँको हो र कति हो भन्नेसमेत यकिन नहुँदै चिया बगानको जग्गा साट्न दिने निर्णय त्यति बेला सरकारले गरेको थियो ।
सरकारले आफ्नो तजबिजमा मनोमानी किसिमले गरेको साटफेरको निर्णय न्यायालयले खारेज गरिदिएको छ । न्यायालयका अनुसार कहाँ, कति क्षेत्रफलको जग्गासँग साटफेर गर्ने वा कसरी जग्गा हस्तान्तरण गर्ने भन्ने सम्बन्धमा २०७८ मा भएको मन्त्रिपरिषद्को निर्णयलगायतको मिसिलमा संलग्न कुनै कागजातबाट खुल्न सकेन । कानुनभन्दा माथि कोही हुँदैन । ऐनका प्रावधानलाई मिचेर कसैले निहित स्वार्थ र सुविधाअनुसार प्रयोग गर्न मिल्दैन । नियम मिचेरै जग्गा साटफेर गरिएको निर्णय खारेज गरेर सर्वोच्च अदालतले देशको सम्पत्ति जोगाइदिएको छ । ऐन, नियमविपरीत निर्णय गर्ने जिम्मेवारी व्यक्तिलाई पनि कारबाही हुनैपर्छ ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

सम्पादकलाई चिठी

ओलीको कारण जे भइरहेको छ


अहिले संसद्मा राजनीतिक दलहरू जसरी उत्रिरहेका छन्, यो अवस्थाको सिर्जना एमाले अध्यक्ष केपी शर्मा ओलीले गराएका हुन् । ओलीले अपनाएको दोहोरो रणनीतिका कारण नै संसद् बन्धक बन्न पुगेको छ । संसद्मा नारा जुलुस गर्ने र वेल घेराउ गर्ने भूमिकामा कांग्रेस देखिए पनि यसमा ओलीको अदृश्य हात देखिन्छ । प्रतिपक्षी दल कांग्रेसले उठाएको एकबुँदे माग भनेको रास्वपाका अध्यक्ष एवं गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने तथा सम्पूर्ण समस्याग्रस्त सहकारीमाथि छानबिन गर्ने गरी उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्छ भन्ने नै हो । सुरुमा कांग्रेसले मात्र उठाएको यस मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (नेपाल) र राष्ट्रिय जनमोर्चासमेत एक ठाउँमा आएका छन् । प्रतिपक्षीले उठाएको उक्त माग पूरा गर्न गृहमन्त्री लामिछाने स्वयं लचिलो बनिसकेको अवस्थामा ओली अलिकति पनि लचिलो नहुनुमा उनको स्वार्थ लुकेको छ । एकातिर कांग्रेसलाई भित्रभित्र उचाल्ने, अर्कातिर उसैको मागमा पत्थर जस्तो बनेर बसिदिने र सत्ता ढलाउन खोज्ने ओलीको रणनीति हो ।
गएको फागुन २१ मा गठबन्धन बनाउने क्रममा भएको भनिएको सहमतिअनुसार बाँकी कार्यकालमा ओली र प्रचण्डले दुई/दुई वर्ष सरकारको नेतृत्व गर्ने भन्ने छ । जसअनुसार ओलीले अझै २०/२२ महिना पर्खनुपर्ने देखिन्छ । अस्थिर स्वभावका प्रचण्डमाथि ओली पनि विश्वस्त हुन सकेको पाइँदैन । अघिल्लो गठबन्धनमा माधव नेपालको प्रधानमन्त्री हुने पालो आउँदै गर्दा प्रचण्डले गठबन्धन बदलेका थिए । आफ्नो पालामा पनि त्यस्तै अवस्था आउन सक्छ भन्नेमा ओली सजग देखिन्छन् । त्यसैले उनी यो सरकारलाई लामो समय टिकाउन चाहँदैनन् । उनी जतिसक्दो छिटो आफू प्रधानमन्त्री बन्ने बाटोको खोजीमा छन् । बाहिर बाहिर प्रतिपक्षीले भनेजस्तो संसदीय समिति बन्न पनि नदिने र भित्रभित्र कांग्रेसलाई उकेरा लगाइरहने भूमिकामा उनी देखिन्छन् । सत्ता गठबन्धनमा समस्या उत्पन्न गराउने र त्यसपछिको नयाँ परिस्थितिमा अर्को कदम चाल्ने सोच ओलीले बनाएका हुन सक्छन् ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

सम्पादकलाई चिठी

सांसदले बिर्सिएको शिष्टाचार

- कान्तिपुर संवाददाता

केही वर्षअघि शैक्षिक भ्रमणका लागि मेरा विद्यार्थी लिएर संघीय संसद् गएको याद छ । विद्यार्थीहरू संसद् भवनभित्र लागू गरिएको सम्मानको कडा संहिता, कूटनीतिक अनुशासनबाट प्रभावित भएका थिए । संसद्लाई लोकतन्त्रको प्रतीक मानिन्छ । संसद्का सदस्यहरू नागरिकका सम्मानित प्रतिनिधि हुन् । प्रजातान्त्रिक रूपमा निर्वाचित हाम्रा प्रतिनिधिहरूबाट राम्रो आचरणको स्वाभाविक रूपमा हामी आशा गर्छौं । संसदीय कार्यमा शिष्टता र सम्मान सर्वोपरि हुन्छ । तर हालै नेपाली कांग्रेसका केही सांसदले गरेको अभद्र व्यवहार देखेपछि म निराश छु । भिडियोमा स्पष्ट रूपमा देखिन्छ कि कसरी प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई उनीहरूले मौखिक रूपमा आक्रमण गरे । तोडफोडको मनसायले क्रोधित भीडको सम्झना गराउँछ । विपक्षीलाई शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार छ भन्ने हामीलाई थाहा छ । तर आफ्नो असन्तुष्टि देखाउन संसद्को सम्पूर्ण कारबाही अपहरण गर्नु लोकतन्त्रमाथिको प्रहार हो । संसद् भवनभित्र वरिष्ठ नेताहरूलाई अभद्र गाली गरेकामा उनीहरूले तुरुन्त माफी माग्नुपर्छ । अन्यथा राजनीतिज्ञहरूको यस प्रकारको आक्रोशपूर्ण व्यवहारले जनतामा गलत संकेत दिन्छ । नेपाली जनता पहिलेदेखि नै आर्थिक संकटका कारण निराश र अधीर छन् । संसद्भित्र जे हुन्छ, त्यसको अनुकरण जनताले सडकमा गर्नेछन् । नागरिकको करको पैसाबाट तलब पाउने सांसदहरूले सदाचारमा रहनु नैतिक दायित्व हो ।
उज्ज्वल श्रेष्ठ, ललितपुर

सम्पादकलाई चिठी

छानबिन समितिको औचित्य

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अपचलनउपर छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसद् अवरोध गरिरहेको छ । शुक्रबार त लगभग हात हालाहालको अवस्था सिर्जना भयो । यसले जनतामा के सन्देश जाला ? अन्तर्राष्ट्रिय जगत्ले के बुझ्लान् ? हुन त नेतामा जिम्मेवारीबोध नै छैन । सांसद आफ्नो मर्यादामा बस्न सक्दैनन् भने नागरिकले उनीहरूबाट के शिक्षा लिने ? जनताले के आस राखेर उनीहरूलाई निर्वाचित गराएर पठाएका हुन् ? उनीहरूले जनतासामु के प्रतिबद्धता गरेका छन् ? त्यो सम्झनुपर्‍यो । एकले अर्कालाई दोष लगाएर मात्र भएन । छानबिनले दोषी देखिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नुपर्‍यो । सँगै अन्य सहकारीमाथि पनि छानबिन हुनु पर्‍यो । विभिन्न सहकारीबाट हजारौं पीडित छन्, आफ्नो बचत फिर्ताका लागि धाउँदाधाउँदै उनीहरू दिक्क भइसके । समस्याको हल कहिले गर्ने ?
संसद्मा घम्साघम्सी गरेर समस्या समाधान हुन्छ ?
संसद् बन्द नगरी प्रतिपक्षीको आवाज नसुन्ने सरकार र अन्तिम विकल्प भनेको संसद् बन्द भनेर सोच्ने प्रतिपक्षी दुवै गलत छन् । बहस गर्न ठाउँ नै बन्द भएपछि कहाँ गएर बहस गर्नु ? सडकमा ? देशमा प्रजातन्त्र आएपछि धेरै छानबिन आयोग बने, धेरै संसदीय छानबिन समिति बने तर तिनले सोचेअनुसार काम गरेनन् । तिनका प्रतिवेदनअनुसार कोही कारबाहीमा परेको थाहा छैन । संसदीय समिति बनाएर देशको बजेट सक्नेबाहेक अन्य केही देखिएन । अब बन्ने समितिले काम गर्ला भनेर कसरी विश्वास गर्ने ? अर्को कुरा, पार्टीले बनाउने समितिमा पार्टीकै मातहतका मान्छे हुन्छन् । अनि तिनले गर्ने निर्णय कसरी सही होला ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

दृष्टिकोण

कसको भूगोलमा किन मर्ने ?

- कटक मल्ल


नेपालले बेलायत र भारतसँग गरेको गोर्खा–भर्तीजस्तो सन्धि रुस र युक्रेनसँग गरेको छैन । तर रुस–युक्रेन युद्धमा नेपाली दुवै पक्षबाट किन लडिरहेका छन् ? स्वेच्छाले विदेशी सेनामा भर्ती हुनुपर्ने बाध्यता किन ? विदेशमा मर्नेहरूको पीडा नीति निर्माता वर्गले महसुस गरेका छन् ? यी प्रश्नको जवाफ सोच्न सक्ने जो कोहीलाई थाहा छ कि उनीहरू केही पैसा कमाएर घर पठाउन चाहन्थे, जसलाई ‘रेमिट्यान्स’ भनिन्छ, जसले नेपाल सरकार चलाउन मद्दत गर्छ ।
विदेशी सेनामा वा अन्य काम गर्न ‘लाहुर जानु’ वा ‘लाहुरे’ हुनु बाध्यात्मक नेपाली परम्परा थियो । हाल, काठमाडौंस्थित विमानस्थलबाट दैनिक झन्डै तीन हजार नेपाली विदेश जान्छन् । केहीलाई प्रवासमा सफलता हासिल हुन सक्छ, तर केहीले जीवन गुमाएका छन् (सन् २०१९–२०२३ मा प्रवासमा काम गर्ने ४७०० नेपालीले ज्यान गुमाए) । सुदूरपश्चिम विश्वविद्यालयका कृषि विषयका १० विद्यार्थी इजरायल–हमास युद्धमा मारिए । विपिन जोशी अझै हमासका बन्धक छन् । हमासलाई नेपालको परम्परागत प्यालेस्टिनप्रतिको समर्थन सम्झाउन नेपाल सरकार असफल देखिन्छ । गाजामा भइरहेको प्यालेस्टिनीको विनाशका बावजुद, काठमाडौं र तेल अभिभबीचको घनिष्ठ सम्बन्ध बढेको छ, नेपाल सरकार इजरायली सरकारसँग युद्धविरामको आग्रह वक्तव्य मात्र पनि जारी गर्न सकिरहेको छैन । नेपालीलाई रुसी सेनाबाट उद्धार गर्न नेपाल सरकार हालसम्म असफल भएको छ ।
भौतिक भूगोलका लागि नेपाली सेना ब्रिटिसविरुद्ध सन् १८१४–१८१६ को युद्ध लडेको थियो । त्यो युद्धमा एकतिहाइ भूभाग गुमाए पनि नेपाली बेलायती सेनामा भर्ती हुन थाले । बेलायतका हरेक युद्धमा नेपाली लडेका छन् र ज्यान गुमाएका छन् । ब्रिटिस–भारतको विरासत गोर्खाहरू भारतका लागि लडछन् र मारिन्छन् । नेपाल सरकारसँग गोर्खा भर्ती सन्धि अन्त्य गर्ने हिम्मत छैन । कसको भूगोल र कसका लागि मर्ने भन्ने नेपाली बेरोजगारीका दुःखद कथा हुन् । भूगोल भौतिक मूलतः राजनीति र रणनीतिक हुन्छ । नैतिक भूगोल (राजनीति र रणनीतिलगायत) साहित्य, सांस्कृतिक र कलामा फैलिएको हुन्छ (एडवर्ड सइद, ‘कल्चर एन्ड इम्पेरियालिज्म’ सन् १९९४, र डेभिड स्मिथ ‘मोरल जोग्राफिज’ सन् २०००) ।

औपनिवेशिक भूगोलविरुद्ध नैतिक भूगोल
शक्तिशाली देशहरूले अन्य देशका स्रोत साधन र मानिसको जीवनको प्रत्यक्ष नियन्त्रण (जस्तैः बेलायत, स्पेन, फ्रान्स र पोर्चुगल) गर्नुलाई औपनिवेशिक भूगोल भनिन्छ । साम्राज्यवादी भूगोल भन्नाले कमजोर मुलुकउपर औपचारिक वा अनौपचारिक आर्थिक र राजनीतिक प्रभुत्व गर्नु हो । हाल संयुक्त राज्य अमेरिकाको साम्राज्य छ (साम्राज्यलाई अक्षुण्ण राख्न भर्खरै अमेरिकी प्रतिनिधिसभाले युक्रेन, इजरायल र ताइवानका लागि ९५ अर्ब डलरको सैन्य सहायता स्वीकृत गरेको छ) ।
नैतिक भूगोलको विचार उपनिवेशवाद र साम्राज्यवादको प्रतिरोधका रूपमा विकसित भयो । विशेष गरी एडवर्ड सइदले अध्ययनमा उत्तरऔपनिवेशिक सिद्धान्त सिर्जना गरे । राजनीतिक शक्ति, साहित्य र संस्कृतिबीचको सम्बन्धको अध्ययन विकास गरे । साहित्यमा नैतिक भूगोलको प्रासंगिकता स्वीकार गरियो । नैतिक भूगोललाई केन्द्रित गर्दै सइदले जेन अस्टिनको ‘म्यानफिल्ड पार्क’ उपन्यासको साम्राज्यवादी भूगोलको प्रतीकात्मक विश्लेषण गरेका छन् । ‘म्यानफिल्ड पार्कका प्रमुख सर थोमस बर्ट्राम क्यारिबियन एन्टिगुआमा उखु बगानका मालिक छन् । समृद्धिका लागि औपनिवेशिक एन्टिगुआको ‘उखु उत्पादन बगैंचा’ मा दास श्रमिकलाई शोषण गरिन्छ । म्यानफिल्ड पार्क बिल कसले तिर्‍यो भन्नेमा अस्टिन अनभिज्ञ देखिन्छन् भन्छन् सइद ।
विदेशमा सेना वा अन्य काम गर्ने नेपाली बर्ट्रामविपरीत चरित्र प्रतिनिधित्व गर्छन् । यस्तो विरोधाभासी, व्यंग्यात्मक, काल्पनिक र नैतिक भूगोलको सइदले प्रासंगिक बनाए । यस्तो कल्पना कानुन र राजनीतिमा सम्भव नहुन सक्छ तर साहित्यमा सम्भव छ । विदेशमा काम गर्ने नेपालीले भेदभाव र शोषणको सामना गरिरहेका छन् । म्यानफिल्ड पार्कका बर्ट्राम र नेपाल सरकारबीच अलिकति मात्र अन्तर छ । बर्ट्राम एन्टिगुआमा दास श्रमिकलाई शोषण गर्छन्, आन्तरिक रोजगारी सिर्जना नसकेर नेपाल सरकार भने विदेशमा भेदभाव र शोषणमा पेलिन नेपालीलाई पठाइरहेको छ ।
डेभिड स्मिथले ‘मोरल जोग्राफिज’ मा प्लेटोदेखि उत्तरआधुनिकतावादसम्मका नैतिक दर्शन, भूगोल र नैतिकताबीचको सम्बन्ध व्याख्या गरेका छन् । विशेषगरी भौगोलिक दूरी र जिम्मेवारीको निकटता, नचिनेकाहरूको जीवनसँगको समानुभूतिपूर्ण सामीप्य, निजी र सार्वजनिक स्थानबीचको भिन्नता र समानता । स्मिथ भन्छन्– भूगोल नैतिक निर्णयको आधार हो र नैतिक लक्ष्य न्यायोचित हुनुपर्छ । नैतिक भूगोल, राजनीतिक शक्ति, संस्कृति र साहित्यबीचको सम्बन्ध अर्थपूर्ण छ । उदाहरणका लागि, नेपाली–विदेशीबीच विवाह, व्यापार, वाणिज्य अन्तरक्रिया, खाना व्यञ्जन र परम्पराको एकअर्कासँग घुलमिल बढ्दै छ । मूलतः नैतिक भूगोल पारस्परिक सहअस्तित्वको साझा स्थान हो । औपनिवेशिक भूगोलविरुद्ध नैतिक भूगोल स्वीकार गर्नका लागि वर्तमान संसारमा विद्यमानभन्दा फरक प्रकारको शिक्षा र नेतृत्व आवश्यक हुनेछ ।

नैतिक भूगोल
नैतिक भूगोललाई समानुभूतीय भूगोल भन्नुपर्ने मेरो प्रस्ताव छ । मानव भूगोल (ह्युमन जोग्राफी) र मानवीय भूगोल (ह्युमनिस्ट जोग्राफी) दृष्टिकोणका भिन्नता हुन्छन् । नैतिक भूगोलले राष्ट्र र राष्ट्रिय भूमिलाई अपमान गर्दैन । नैतिक भूगोलले सीमाको बीचमा समानुभूतीय चेताना जागरण गर्छ । युद्धको समयमा भौतिक भूगोल प्रायः छलफलको विषय भइरहन्छ (जस्तैः इजरायल–प्यालेस्टाइन, रसिया–युक्रेन) । नेपाल–ब्रिटिस युद्धको कारण वर्तमान भारतले नेपालको एकतिहाइ भौतिक भूभाग प्राप्त गर्‍यो । यसको विपरीत नेपालले सिक्किम, दार्जिलिङसहित कुमाउ, गढवाल र पश्चिमी तराईका भौतिक भूगोल गुमायो । तर, ती स्थानमा नेपाली मूलका बासिन्दा भएकाले त्यहाँ हाम्रो नैतिक भूगोल जीवित छ ।
नैतिक भूगोलको आन्तरिक र बाह्य आयाम छन् । एकातर्फ विदेशमा भइरहेको बसाइँसराइले नेपालको नैतिक भूगोललाई विस्तार गरिरहेको छ । अर्कोतर्फ नेपालमा विदेशी पुँजीको आवश्यकता, विदेशबाट रेमिट्यान्स, भौतिक सामान र व्यावसायिक सेवाको माग बढ्दै गएकाले विदेशीले नेपालमा नैतिक भूगोल खोजिरहेका छन् । यसको अर्थ आन्तरिक नेपाली राजनीतिमा विदेशी प्रभाव समावेश गर्नु होइन ।

सामरिक भूगोल
के चीनले नेपालीलाई चिनियाँ सेनामा भर्ती गर्ने योजना बनाएको छ ? यो प्रश्न भारतीय र नेपाली मिडियाले उठाउँदै आएका छन् (सम्भवतः नेपाली मूलका केही नेपाली चिनियाँ सेनामा कार्यरत छन्) । सन् २०१६ मा अमेरिकी सेनामा भर्ती भई ४७० नेपालीले अमेरिकी नागरिकता पाएका थिए । फ्रान्सेली सेनामा ३०० देखि ३५० नेपाली कार्यरत रहेको अनुमान छ । नेपाली (गोर्खा) ले बेलायती सेनामा काम गरेको २०० वर्षभन्दा बढी भयो । रुसलगायत संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रको सैन्य बलमा नेपाली कार्यरत छन् । सन् १९५८ देखि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता छ ।
छिमेकीहरूले जस्तै रोजगारी अभिवृद्धि गर्न सरकारले कम्तीमा दुई लाख नेपालीलाई सेनामा भर्ती किन नगर्ने ? यस विषयमा नेपाल सरकार सकारात्मक छ भने सुरक्षा परिषद्का स्थायी सदस्यसँग औपचारिक छलफल र सम्झौता गरी संयुक्त राष्ट्रसंघका लागि थप शान्ति सेना उपलब्ध गराउन सक्छ । संख्या थप्दैमा नेपालको बेरोजगारी समस्या समाधान हुन्छ भन्ने होइन । तर गैरकानुनी रूपमा विदेशी सेनामा भर्ना हुनेलाई नेपाली सेनामा भर्ना हुने वातावरण बनाउन सकिन्छ । साथै, भूकम्प र अन्य प्राकृतिक प्रकोप पर्दा सातै प्रदेशमा ‘उद्धार सेना’ तैनाथ गर्न सकिन्छ । केही सांसदले सेनाको संख्या घटाउनुपर्ने धारणा संसद्मा व्यक्त गरेका थिए । एकातिर अमेरिका र चीनबीच बढ्दो सैन्य तनाव, अर्कोतिर चीन र भारतबीचको परम्परागत दुस्मनीलाई हेर्दा नेपालमा बलियो सेना आवश्यक देखिन्छ । अन्तर्राष्ट्रिय राजनीतिक परिवर्तन र अनिश्चितताको समयमा आत्मनिर्भर हुन पनि सेना चाहिन्छ । कुनै गम्भीर योजनाबिना जे परिआउँछ हामी सामना गर्नेछौं भन्ने मानसिकता राष्ट्रका लागि हानिकारक छ ।
शक्तिशाली राष्ट्रहरूको सरकारी नीति बुझ्नु महत्त्वपूर्ण हुन्छ । जब शक्तिको स्वार्थको प्रश्न आउँछ, उनीहरूले आर्थिक स्वार्थ त्याग गर्न सक्छन् । उनीहरू मानव जीवन र मानवताभन्दा शक्ति र प्रभुत्वलाई प्राथमिकता दिन्छन् (निकोलो म्याकियाभेली, ‘द प्रिन्स’) । नेपाली विज्ञहरू शक्तिशाली राष्ट्रलाई विश्वस्त गरेर नेपालको स्वार्थ पूरा गर्न सकिन्छ भन्ने सोच्छन् भने त्यो भ्रम हो ।

रोजगारीका लागि विदेशी पुँजी
प्रचुर राष्ट्रिय जनशक्ति विदेशी पुँजी लगानीको आधार मानिन्छ । विदेशी पुँजीले आन्तरिक रोजगारी सिर्जना गर्न मद्दत गर्न सक्छ । नेपालमा चीन र भारतजस्तो जनसंख्या छैन । नेपालले श्रमशक्ति निर्यात गरिरहेको छ । कम तलबमा काम गर्ने पर्याप्त श्रमशक्तिका कारण चीन र भारत दुवैले विदेशी लगानी आकर्षित गरेका छन् । भारतमा करमा सहुलियत दिएर माइक्रोसफ्ट सिलिकन भ्याली बन्यो । माइक्रोसफ्टले वार्षिक ४० बिलियन डलर लाभ गर्छ (वन्दना शिवा, वैज्ञानिक र पर्यावरण पक्षधर) । भारतले विदेशी लगानी आकर्षित गर्न कर्पोरेट करका दर घटाउने, गैरबैंकिङ वित्तीय कम्पनीमा तरलता समस्यालाई सम्बोधन गर्ने, व्यापार गर्न सजिलो बनाउने नीतिमा सुधार गरेको छ ।
अर्थतन्त्रलाई बाहिरी विश्वका लागि खुला गर्ने प्रतिबद्धताले चीन उद्यमशीलताको युगमा प्रवेश गर्‍यो । सस्तो श्रमको प्रचुर आपूर्ति र कम ज्यालाले चीनमा विदेशी लगानी आकर्षित गरेको देखिन्छ । यसले उत्पादनमा योगदान पुर्‍याएको छ । विदेशी लगानीको लागि कर छुट नीति र विदेशीले स्थानीय उपकरण खरिद गर्दा कर फिर्ता गर्ने नीतिका कारणले पनि चीनले विदेशी लगानी आकर्षित गर्‍यो । चीन सरकारले केही वर्षदेखि राष्ट्रिय उपभोगमा आधारित अर्थतन्त्रलाई बढावा दिइरहेको छ ।

स्वयं कोही धनी हुँदैन
धनीहरूको लगानीले रोजगारी सिर्जना गर्छ र कामदारलाई सम्पत्ति आर्जन गर्न मौका दिन्छ भन्ने एक पुँजीवादी आर्थिक सिद्धान्त हो, जसलाई ट्रिकल–डाउन इफेक्ट (धनीबाट गरिबमा पैसाको प्रवाह) भनिन्छ । श्रमिक, प्राकृतिक स्रोत र वातावरणको दोहन नगरी वास्तविक धनी हुनु गलत छैन । तर कुनै न कुनै प्रकारको दोहन नगरी कोही धनी हुँदैन । विश्वका १० धनीमध्ये चार–पाँच धनी नेपालमा भए बेरोजगारी समस्या समाधान हुन्छ भन्ने ‘ट्रिकल–डाउन’ नारा पुनः प्याकेज भइरहेको छ । ट्रिकल–डाउन भनेको धनीहरूको लगानीले सबैलाई रोजगारी दिन सक्छ, जसले सबैलाई सम्पत्ति आर्जन गर्न मौका दिन्छ भन्ने विश्वास हो । तर कुनै गाउँमा एक धनी हुँदैमा गाउँलेको गरिबी हट्दैन ।
‘बिल गेट्सले केही आविष्कार गरेनन् । आधारभूत माइक्रोसफ्ट सफ्टवेयर प्रोग्राम गणितका प्राध्यापकले बनाएका थिए । अफिस अपरेटिङ सिस्टम एक सफ्टवेयर इन्जिनियरले बनाएका थिए र गेट्सले ५० हजार डलरमा किनेका थिए । उनले सफ्टवेयरमा ढाँचा सिर्जना गरेर माइक्रोसफ्ट साम्राज्य निर्माण गरे’ (वन्दना शिवा) । सरकारबिना आफैंमा स्वयं धनी हुने कोही छैन । ‘सरकारले निर्माण गरेको सडकमा धनीले आफ्ना सामान ओसारपसार गर्छन्, सडक बनाउने खर्च नागरिकले तिरेका हुन्छन् । धनीले कामदारलाई काम दिन्छन्, कामदारको भुक्तानी नागरिकले तिरेका हुन्छन् । धनी कारखानामा सुरक्षित हुन्छन्, किनभने पुलिसका लागि नागरिकले तिरेका हुन्छन् । सामाजिक सम्झौताको अन्तर्निहित अंश भनेको धनीले समाजका लागि भुक्तान गर्नु हो’ (एलिजाबेथ वारेन, अमेरिकी डेमोक्रेटिक सिनेटर) । गरिबी स्थानीय हुन्छ र धनीको कुनै स्थान वा राष्ट्र हुँदैन, तिनीहरूको दिमागमा नाफा हुन्छ । धेरै धनीहरूले कर्पोरेट सामाजिक उत्तरदायित्व बुझ्छन् र पूरा गर्छन् ।
विदेशमा नागरिकको संरक्षण, मानवअधिकार, कूटनीति र कानूनको मुद्दा विवादास्पद हुन्छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा संवेदनशील प्रभाव
पार्न सक्छन् । शक्तिशाली राष्ट्रहरूले विदेशमा
आफ्नो नागरिकको रक्षा गर्न हस्तक्षेप गर्ने प्रवृत्ति छ । नेपालजस्ता देशसँग त्यस्तो हस्तक्षेपको शक्ति छैन ।

Page 5
अन्तर्वार्ता

'जीडीपी ५७ खर्ब पुगेकाले १७ खर्बसम्मको बजेट ठीक हुन्छ’

- कान्तिपुर संवाददाता

 

केही व्यावसायिक घरानाअनुकूल बजेट बनाएको भन्दै तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीप्रति विमति जनाएर २०६७ सालमा अर्थसचिवबाट राजीनामा दिएका रामेश्वर खनाल सुशासन र बजेटरी प्रणालीमा गहिरो ज्ञान राख्नेमा पर्छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार हुादै भट्टराईले नै अघि बढाएको नयाा शक्ति पार्टीमा खनाल केही समय सक्रिय रहे । त्यसपछि कांग्रेस राजनीति गरेर अलग्गिएका उनी कुनै दल तथा सरकारी सेवामा नरही प्राध्यापन, अनुसन्धान तथा स्वतन्त्र विश्लेषकका रूपमा कार्यरत छन् । हाल संसद्मा दलहरूबीच उत्पन्न परिस्थितिले बजेटमा पार्ने प्रभाव, आगामी बजेटको आकार तथा करनीति, सार्वजनिक ऋणको स्पेस तथा उपादेयता र सहकारी समस्या समाधानका विषयमा केन्द्रित रहेर कान्तिपुरका कृष्ण आचार्य, राजु चौधरी र सीमा तामाङले गरेको कुराकानी :


राजनीतिक अस्थिरताले नीति तथा कार्यक्रम, बजेटलगायत सरकारका वार्षिक कार्यक्रम पनि अस्थिर बन्दै आएका छन् । समयमै बजेट पेस नहुने प्रवृत्ति रोक्न संविधानमै जेठ १५ मा बजेट ल्याउने मिति तोकियो, तर पनि बजेटमाथि राजनीति भइरहेको छ । नयाँ संविधान जारीपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट २०७८/७९ को बजेट ल्याउनुभएको थियो । संसद्मा राजनीतिक दलबीचको ध्रुवीकरण हेर्दा फेरि अध्यादेशतर्फ जाने हो कि भन्ने शंका बढेको छ । यसरी हेर्दा हामीकहाँ नीतिको समस्या हो कि राजनीति नै खराब ?
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट ल्याउनुभएको बजेट संसद्बाट अनुमोदन हुन सकेन । संविधानअनुसार ल्याउनुपर्ने काम नगरेपछि करिब ७ दिन सरकार ‘सट डाउन’ मा गयो । खर्च गर्न नपाएर सरकार नै बन्द हुने अवस्थामा पुग्यो । नेपालको इतिहासमा ‘सट डाउन’ पहिलो पटक भएको थियो । यसपटक करिब त्यही दिशामा गएको देखिन्छ । तर पनि जेठ १५ मा बजेट आउँदा विगतको जस्तो साउन १ बाट खर्च नहुने अनिश्चितता कम हुन्छ । सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा कात्तिकसम्म पनि सरकारले अघिल्लो वर्षको एकतिहाइबाट खर्च सञ्चालन गर्‍यो । कात्तिक मसान्तसम्म खर्च सकिने अवस्था आयो । मंसिर ३ गते बजेट पेस गर्ने बेला ब्रिफकेस नै तोडफोड भयो । त्यसपश्चात् अनिश्चितता खडा भएपछि अध्यादेशबाट बजेट ल्याइयो । अहिले त्यस्तो अवस्थाचाहिँ आउँदैन । साउन १ गतेसम्म खर्च गर्ने गरी संसद्बाटै या अध्यादेशबाट बजेट आउँछ । अध्यादेशबाट बजेट आउनु भनेको लोकतान्त्रिक दृष्टिकोणबाट खराब हो । राष्ट्रको स्रोत उपयोग गर्ने विषय संसद्मा छलफल नभई सरकारले प्रयोग गर्नु राम्रो होइन ।
विष्णु पौडेल र जनार्दन शर्मा अर्थमन्त्री भएका बेलाजस्तो सट डाउनको अवस्थामा यसपालि पनि जान सक्छ । जेठ १५ मा बजेट अनिवार्य ल्याउने भनिएपछि अध्यादेशबाट ल्याउनु हुँदैन । यसले दल र समग्र मुलुकलाई नै फाइदा गर्दैन । समयमै बजेट नआउँदा त्यसमा झन् बढावा पुग्छ । र, दलप्रतिको नकारात्मक सोच आउँछ । त्यो बुझेर पनि दलहरूले बजेट ल्याउनका निम्ति बाटो खुला गरिदिनुपर्छ । मुलुकको स्वार्थ र दलको स्वार्थ परस्पर बाझिएको छ । कुनै खास दललाई सहकारी ठगीसम्बन्धी छानबिन समिति गठन भएर केही पत्ता लगाए छविमा असर पर्छ भन्ने होला । अर्को दलले नङ्ग्याउन सकिएन भने चुनावमा आफ्नो दलको अवस्था कमजोर हुन्छ भन्ने होला ।

समग्रमा खर्च कम हुने, भएको खर्चसमेत चालु शीर्षकमा बढी हुने भइरहेको छ । राजस्व संकलन झन् कम हुँदा सरकारी वित्त २ खर्ब रुपैयाँले घाटामा छ । यसका पछाडि हाम्रो आम्दानी नै कम भएर हो कि राजस्व चुहावट बढी भएको हो ?
नेपालले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा करिब २३ प्रतिशत राजस्व असुली गर्ने क्षमता विकास गरेको थियो । दसौं योजनाको अन्तसम्म राजस्व र जीडीपीको अनुपात १४ प्रतिशत पुर्‍याउने भनिएकामा कहिले पनि ११ देखि साढे ११ प्रतिशत नाघेको थिएन । २०६४/६५ पछि क्रमिक रूपमा राजस्व प्रशासनमा सुधार, कतिपय प्रक्रियागत सरलीकरण र डिजिटलाइजेसन भयो । राजस्वमा सुधार गर्न करदाता र ट्र्याकिङमा पनि सहजीकरण गराइयो । मूल्य अभिवृद्धि कर (भ्याट) लाई पनि प्रभावकारी गराउँदा सहज हुन्छ भनेर २०६४/६५ मा गरिएको सुधारले ११ देखि क्रमिक रूपमा बढ्दै २३ प्रतिशत पुगेको थियो । कोभिड–१९ को समय (२०७८/७९) मा पनि हाम्रो राजस्व जीडीपीको तुलनामा २२ दशमलव ८ प्रतिशत थियो । लगत्तैको आर्थिक वर्षमा झरेर १८ दशमलव २ प्रतिशत भयो । आयात बन्देज, आयातमा कमी, बैंकबाट कर्जा प्रवाह कम भएको कारण देखाइयो । १८ प्रतिशतले आयात घटेको थियो । कर्जा उत्पादनभन्दा अन्यमा लगानी भएको थियो । नयाँ उद्योग, नयाँ लगानी थिएन । त्यो समयमा राजस्व २३ बाट २२ दशमलव ८ मा झर्‍यो । आयात बन्देज गरेको वर्ष एकैचोटि ४ प्रतिशत बिन्दुले झरेको छ । त्यसले राजस्व प्रशासनमा ठूलो चुहावट रहेको देखाउँछ । अहिले राजस्व र जीडीपीको अनुपात १८ बाट बढ्न सकेको छैन । बरु यसपटक घटेर १७ पुग्ने तथ्यांकले देखाउँछ । सरकारले राजस्व प्रशासनमा भएको कमजोरी सुधार गर्न आवश्यक छ ।
ऋणको आकार बढाउन सकिन्छ । जीडीपीको ५ दशमलव ५ प्रतिशतसम्म ऋण लिन पाइन्छ । वैदेशिक ऋणको सीमा भएन । त्यसकारण स्रोतको समस्या होइन, कार्यान्वयनको हो । सरकारको वित्तीय घाटाको पनि फरक अवस्था छ । यदि सरकार वित्त घाटामा छ र नगद छैन भने बजेट परिचालन गर्न गाह्रो हुन्छ । अहिलेको अवस्थामा वित्तीय घाटा छ, तर सरकारसँग नगद छ । यस्तो बेलामा सरकारले नगद बचत गरेर राख्नु हुँदैन । खर्च गरिदिए आर्थिक गतिविधि चलायमान हुन्छ । सरकारले खर्च बढाइदिएर निजी क्षेत्रलाई डोर्‍याए निजी क्षेत्रले थप लगानी गर्छ । प्रोत्साहन हुन्छ ।

राजस्व कम संकलन र खर्च बढिरहँदा विगतमा सांकेतिक रूपमा केही खर्च कटौती गरिए । राजस्व कम उठ्यो भनेर आन्तरिक तथा बाह्य ऋण धमाधम लिइरहेको अवस्था छ । आन्तरिक ऋण त हरेक वर्ष लक्ष्यअनुसार पूरापूर लिने गरिएको छ । सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ भइसकेको छ । जीडीपीको अनुपातमा सार्वजनिक ऋण ४४ प्रतिशतभन्दा बढी छ । यसले भविष्यमा ऋण लिने सीमामा कस्तो दबाब परिरहेको छ ?
अर्थतन्त्रको आकार विस्तार हुँदै गर्दा जीडीपी ५७ सय अर्ब पुग्ने भनिएको छ । भोलि ६५ सय अर्ब पुग्यो भने स्वाभाविक रूपमै सरकारको वित्तीय घाटा बढाउने सामर्थ्य पनि बढ्छ । प्रतिशत नबढाएर पनि बढी ऋण लिन सकिन्छ । अहिले विकासका लागि ऋण लिएर भए पनि थुप्रै लगानी गर्नुपर्ने अवस्था छ । सरकारले माथिल्लो अरुणको कुरा गरिराखेको छ, त्यो ऋणबाटै सञ्चालन हुने हो । दूधकोशी बहुउद्देश्यीय पनि ऋणबाटै सञ्चालन हुने हो । ठूला जलविद्युत् योजना, जसमा निजी क्षेत्रले तत्कालै लगानी गर्न सामर्थ्य राख्दैन । निजी क्षेत्रले अधिकतम ३ सय मेगावाटसम्मको योजना सम्पन्न गर्न सक्छ । निजी क्षेत्रबाटै केही समयअगाडि ८०/९० मेगावाटको आयोजना सम्पन्न भयो । ८ सयदेखि हजार मेगावाटको आयोजना निर्माणका लागि सरकार नै वा निजी क्षेत्रसँग मिलेर अग्रसर हुनुपर्छ । सँगै जाँदा नाफा निजी क्षेत्र र घाटा सरकारलाई थोपर्ने अनुभव पनि छ । त्यही भएर ऋण लिएर ठूला आयोजनामा लगानी गर्नुपर्नेछ ।
यसका लागि २ वटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, आर्थिक वृद्धिदर उच्च गर्नुपर्छ, जसका कारण ऋण लिने सामर्थ्य बढ्दै जाओस् । आर्थिक वृद्धिदर बढ्दा जीडीपी बढ्छ । जीडीपी बढ्दा ऋणको आकार बढाउन सकिन्छ । दोस्रो, जुन तहमा राजस्व र आर्थिक वृद्धिको अनुपात थियो । राजस्व र जीडीपीको अनुपात २३ प्रतिशत पुगेको थियो । विकसित मुलुकसँग तुलनायोग्य थियो । दक्षिण एसियामा नेपाल सबैभन्दा बढी राजस्व संकलन गर्ने मुलुकको सूचीमा कहलिएको थियो । अहिले घटेर १८ प्रतिशतमा झरेको छ । १८ पनि दक्षिण एसियाको अन्य मुलुकको तुलनामा राम्रो हो । तर, एकैपटक ५ देखि ७ प्रतिशत घट्नु राम्रो होइन । यसलाई बढाउनुपर्छ, ठूला बजेट बनाउन वा पुँजीको अभाव हुँदैन । खर्च कटौतीचाहिँ लोकप्रिय नारा हो । वैदेशिक भ्रमण, पेट्रोल, बैठक भत्तामा कटौती गर्ने मामुली खर्च हुन् । ठूला आकारको खर्च सामाजिक सुरक्षामा छ । जहाँ एकचोटि सरकारले नीतिगत घोषणा गरेपछि घटाउन सकिन्न । संख्या वा प्रभावित व्यक्ति बढेका कारण त्यो बढ्दै गएको छ । यसलाई व्यवस्थापन गर्नुपर्छ ।
कतिपय अवस्थामा चालु खर्च घटाउनु हुँदैन । चालु खर्च घटाउनु भनेको सेवा प्रवाहमा कन्जुस्याइँ गर्नु हो । अहिले यातायात व्यवस्था विभागमा जाँदा सेवाग्राहीले नै फाइल बोकेर हिँड्नुपर्छ, फोटोकपी गर्न पसल–पसल चहार्नुपर्छ । प्रभावकारी सेवा दिनु सरकारको दायित्व हो ।

बजेटको ठूलो अंशका रूपमा रहेको सामाजिक सुरक्षा भत्ताको व्यवस्थापनचाहिँ कसरी गर्न सकिन्छ ?
एकीकृत कानुन ल्याउन जरुरी छ । कति किसिमका सामाजिक सुरक्षा भत्ता दिएको छ भन्ने कुरा सरकारलाई नै जानकारी छैन । विभिन्न कार्यालयबाट माग्नुपर्नेर् अवस्था छ । तीन तहमा सरकार भएकाले तेहोरोपना पनि छ । विदेशमा गएर सुत्केरी गराउन सक्ने वर्गलाई समेत यहाँ सुत्केरी भत्ता दिइएको छ । वृद्धभत्ताको उद्देश्य सडकमा माग्न नपरोस् भन्ने हो । सबै नेपाली सक्षम छैन, सबैको स्रोत छैन भन्दैमा बराबर दिनु भएन । निरन्तर आम्दानी गर्ने, सम्पत्तिको स्रोत हुनेलाई त्यस्ता भत्ता किन चाहियो ? सामाजिक सुरक्षा भत्ता कटौती गर्नुपर्छ भन्न खोजेको होइन । व्यवस्थापन नीति बनाउनुपर्‍यो । एउटा सामान्य परिवर्तनले दसौं, बीसौं अर्ब बचत हुन्छ । बैंक खातामा भत्ता जम्मा गर्ने व्यवस्था गर्दा १२–१३ अर्ब बचत भएको सरकारी तथ्यांक छ । त्यसरी धेरै क्षेत्रको चुहावट रोक्न सकिन्छ ।

यी कुरा बजेटको आकारसँग जोडिन्छन् । यसपटकका लागि राष्ट्रिय योजना आयोगले १८ खर्ब बराबरको बजेट सिलिङ तोकिदिइसकेको छ । तर, प्रधानमन्त्री योभन्दा बढी अर्थात् मध्यकालीन खर्च संरचनाअनुसार साढे १९ खर्बको बजेट ल्याउनुपर्छ भन्दै आउनुभएको छ । आगामी बजेटको सीमा कति हुनुपर्ने हो ?
रकममा उल्लेख गर्नुभन्दा सापेक्षिक रूपमा जीडीपीको आकारसँग तुलना गर्नुपर्छ । लामो अवधिको तथ्यांक केलाएर हेर्दा सरकारको खर्च गर्ने क्षमता जीडीपीको तुलनामा २६ प्रतिशतभन्दा बढी कहिलै भएको देखिँदैन । ठूलो आकारको बजेट बनाउँदा लोकप्रिय हुन्छ भनेर जीडीपीको तुलनामा ४१ प्रतिशतसम्म बजेट बनाइयो । ४१ प्रतिशतसम्म आकारको बजेट बन्यो, तर जीडीपीको २६ प्रतिशत (बजेटको ७० प्रतिशतभन्दा) कम खर्च भयो । खर्च गर्न नसक्ने गरी बजेट बनाएर लोकप्रिय बन्न सकिँदैन भनेर सरकारले बुझ्नुपर्छ । यथार्थपरक बजेट बनाउने हो भने खर्च जीडीपीको २८ प्रतिशत गर्ने बजेट बनाऔं ।
हाल ५७ सय अर्बको जीडीपी हुन्छ भने त्यसको ३० प्रतिशत अर्थात् १५ सयदेखि १७ सय अर्बसम्मको बजेट बनाउन सकिन्छ । होइन बढाएर ३५ प्रतिशतसम्म जान्छु भन्दा पनि १८ खर्बसम्म जान सकिन्छ । तर, त्योभन्दा बढीको बजेट बनाएर खर्च नहुने स्थिति सिर्जना गर्नु हुँदैन । यो सरकार, अर्थ मन्त्रालयको प्रणालीले बुझेको छ । जीडीपीको २६ देखि २७ प्रतिशतभन्दा बढी खर्च गर्ने हाम्रो सामर्थ्य छैन । ठूलो आकारको बजेट र मिठा नारा ल्याउँदा लोकप्रिय भइन्छ भन्ने बुझाइ राजनीतिक दलका नेतामा छ । नाराले आम नागरिकलाई केही पनि दिँदैन ।

हामीसँग ऋण लिने ठाउँ पनि छ, राजस्व बढाउने ठाउँ पनि छ भन्नुभयो । अर्कोतर्फ बजेट ठूलो आकारको आवश्यक छैन भन्दै हुनुहुन्छ । खासमा बजेटको आकार आम्दानीको हिसाबले निर्धारण गर्ने हो कि खर्च क्षमताका आधारमा ?
अहिले परिमाणमुखी बजेटको सिद्धान्तमा छौं । अन्तर्राष्ट्रिय अभ्यास पनि परिमाणमुखी नै छ । बजेटमा पहिला परिमाण के हासिल गर्ने हो परिभाषित गरौं । त्यसका लागि कति रकम चाहिन्छ हिसाब गरौं । त्यसलाई खर्च गर्ने संस्थागत क्षमता पनि हेर्नुपर्‍यो । त्यसका आधारमा कति परिमाण हासिल गर्न सकिन्छ भनेर जानुपर्छ । खर्चको अनुमान गरेर स्रोत खोज्नुपर्‍यो । स्रोत पुग्दै पुग्दैन भने फर्केर परिमाण र खर्च घटाउनुपर्छ । हामीलाई त्यस्तो बिन्दुमा सम्भवतः पुग्नु पर्दैन । अहिले कतिपय सरकारले प्राप्त गर्नुपर्ने लक्ष्य अन्तर्राष्ट्रिय लक्ष्य पनि छन् । दिगो विकास लक्ष्यमा परेका कुरा नै सरकारले राख्ने हो । त्यो लक्ष्य हासिल गर्न राजस्वको स्रोत र आन्तरिक पैसाबाट पुगेन सहायता चाहिए सरकारले तीन/चार महिनामा सहायता परिचालन गर्न सक्छ । यदि परिमाण देखाएर हासिल गर्ने हो भने अन्तर्राष्ट्रिय संयन्त्रबाट पाउने रकम तत्काल परिचालन गर्न सक्छौं । ज्यादै संकट परेका बेला, वित्तीय संकुचन गर्नै परेको अवस्थामा स्रोतमा आधारित बनाउने हो । अहिले तीव्र विकास, रोजगारी सिर्जना, विदेशमा गएका कामदारलाई नेपाल फिर्ता गर्नुपर्ने आवश्यकता छ । यस्तोमा स्रोतभन्दा परिमाणमा आधारित हुनुपर्छ ।

संयोगवश यसपटक सोह्रौं योजना स्वीकृत गर्ने, नीति तथा कार्यक्रम पेस हुने र बजेट निर्माणको समय सँगसँगै परेको छ । अर्को संयोग प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एउटै दलको हुनुहुन्छ । यस्तो अवस्थामा योजनादेखि बजेट निर्माण र खर्चमा सरकारको प्राथमिकता के हुनुपर्छ ?
गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने, निर्यात वृद्धि गर्ने एजेन्डालाई ‘सपोर्ट’ गर्न निजी क्षेत्रको लगानी खस्केको छ । पहिलो प्राथमिकता त्यसलाई तीव्र गतिमा बढाउनुपर्ने हुन्छ । सरकारले मध्य मर्स्याङ्दी करिडोर, कोशी करिडोर, कर्णाली करिडोरमा राम्रो प्रसारण लाइनको विस्तार गरिदिए, त्यो क्षेत्रका निजी क्षेत्र तत्काल हाइड्रोपावर विकास गर्न जान्छन् । पर्यटन, कृषि प्रोसेसिङमा त्यस्तै सम्भावना छ । नीतिहरू त्यहीअनुसार केन्द्रित हुँदा त्यसले गरिबी निवारण, आर्थिक वृद्धिको उद्देश्य, रोजगारी सिर्जना मुलुकको निराशालाई चिरेर आशा जोगाउने उद्देश्य कायम हुन्छ ।

हामीले लामो समय कृषि, पर्यटन, जलविद्युत्लगायत क्षेत्रलाई तुलनात्मक लाभका क्षेत्र भन्यौं । एक अध्ययन प्रतिवेदनले ६६ हजार जनशक्तिले वार्षिक ६७ अर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गरिरहेको भन्ने सार्वजनिक भएपछि अब हाम्रो प्राथमिकता यसैमा हुनुपर्छ भन्न थालिएको छ । खासमा नेपालका लागि आईटी तुलनात्मक लाभको क्षेत्र हो कि होइन ? यस क्षेत्रलाई सरकारले बजेटमार्फत के गरिदिनुपर्छ जस्तो लाग्छ ?
जीडीपीमा सेवा क्षेत्रको ठूलो योगदान रहँदै आएको छ । त्यसमा सूचना प्रविधिको ठूलो भूमिका छ । नेपालबाट हुने वस्तु निर्यातको तुलनामा सेवा निर्यातको वृद्धिदर बढ्दै गएको छ । जसमध्ये सूचना प्रविधिको निर्यात प्रमुख रह्यो । नेपालबाट विदेशी मुद्रा लैजान सहज नहुने भएकाले नेपालमै आधार बनाई काम गर्न अप्ठ्यारो पर्छ । उनीहरूले प्रयोग गर्ने सफ्टवेयर, उपकरण सिंगापुर, दुबई, लन्डनलगायत मुलुकमा राख्नुपरेको छ । कतिपय कारोबारका लागि सिलिकन भ्यालीमा राख्नुपरेको छ । त्यहाँ आधार बनाउनका निमित्त नेपालबाट पैसा लैजान पाइँदैन । सेवा मुलुकबाहिर बेचेर नेपालमा पैसा ल्याउन पाइने तर यहाँ ल्याइसकेपछि लैजान गाह्रो छ । सरकारले त्यसमा सहजीकरण गरिदिनुपर्‍यो । नेपालको भन्दा अन्य मुलुकमा आयकरको दर कम छ । आयकरमा छुट भइदियो भने नेपालमै बस्न प्रोत्साहन हुन्थ्यो । अर्कोतर्फ सरकारले पूर्वाधार सिर्जना गरिदिनुपर्छ । अप्टिकल फाइबर, ब्यान्डविथ बढाइदिनुपर्छ । सूचना प्रविधिलाई लक्षित गरी विशेष आर्थिक क्षेत्रजस्तै आईटी पार्कलगायतमा जोड दिनुपर्छ । यी माग पूरा गर्न सकियो भने सूचना प्रविधिबाट ३ खर्बसम्म सेवा निर्यात गर्न सकिन्छ । बाहिर गइरहेका जनशक्तिलाई नेपालमै टिकाउन सकिन्छ । कृषि, पर्यटन, जलविद्युत्लगायत पनि सम्भावनाकै क्षेत्र हुन् ।

हाम्रा उद्योग ४० प्रतिशत क्षमतामा सञ्चालनमा छन् । सटरहरू बन्द छन् । निजी क्षेत्रको मनोबल खस्किएको छ । काम गरेर नेपालमै बस्ने वातावरण छ भनेर आशा जगाउन आगामी बजेटले कस्तो सम्बोधन गर्नुपर्छ ?
सरकारले कुनै पनि विषयमा अनुसन्धान तथा छानबिन गरी दोषी ठहरिनुअघि नै जेल पठाउने, छापा मार्ने काम गरिरहेको निजी क्षेत्रको गुनासो छ । प्रशासकीय क्षमतामा कमी, निजी क्षेत्रमैत्री धारणा नहुँदा समस्या भइरहेको छ । राजनीतिक दलले भाषण एउटा गर्ने तर सहजीकरणमा निर्णय नगर्ने प्रवृत्ति छ । चिनियाँ लगानीकर्ता तथा नेताहरूले पनि नेपालमा नीतिगत स्थिरता नभएको बताइरहेका छन् । पछिल्लो उदाहरण विद्युतीय सवारीसाधन कर हो । विशेषगरी करका दर, भन्सारका दर, सरकारले दिने सुविधाको सन्दर्भमा स्थिरता आवश्यक छ । एकपटक घोषणा गरेपछि यसको म्याद यतिसम्मका लागि हो, त्यसपछि परिवर्तन गर्छौं भन्नुपर्छ । त्यतिन्जेलका लागि निजी क्षेत्रले ढुक्क भएर काम गर्छ ।
दल र उच्च तहका नेताहरू निजी क्षेत्रमैत्री छौं भन्छन्, काम गर्दैनन् । समुदायको तहमा निजी क्षेत्रले धेरै दुःख पाउँदै आएको छ । लगानी गर्न जाँदा समुदायका माग थुप्रिएर आउँछन् । पूरा गर्न नसकिने वा नसक्ने थाहा पाउनासाथ काम रोकिने अवस्था बन्छ । कतिपय स्थानमा निजी क्षेत्रले आफ्नो भूमिका निर्वाह गरेको छैन भने सरकारले गर्न लगाउनुपर्‍यो । कानुनमा प्रबन्ध गरेकोभन्दा बढी निजी क्षेत्रलाई बाध्य पार्न मिल्दैन । कमाएको नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने, निर्माण गर्नेबेला प्रभावित भएकालाई राहतको व्यवस्था गरिने व्यवस्था छ । कानुनमा प्रबन्ध नगरिएको विषयमा समुदायको माग छ भने कुन हदसम्म सरकार वा निजी क्षेत्रले गर्ने भन्नेमा निर्णय लिनुपर्छ । राजनीतिक उक्साहटमा नभई नीतिगत वा कानुनी आधारमा प्रबन्ध गर्दा विदेशी लगानीकर्तालाई आश्वस्त तुल्याउँछ । त्यसपछि नेपालभित्रै काम गर्न चाहने युवाहरू विदेश जान बाध्य हुँदैनन् ।

करका दर परिवर्तनको सन्दर्भमा सबैभन्दा बढी उतारचढाव भएको विद्युतीय सवारीसाधनको भन्सार महसुल हो । हरेक वर्षजस्तो हेरफेर भइरहेको छ । विद्युतीय सवारीसाधनको करको सन्दर्भमा हुनुपर्ने के हो ?
सरकारले लिएको विकास नीति, आर्थिक नीति र कर नीतिमा सामञ्जस्य हुनुपर्‍यो । प्रदूषण कम गर्दै जाने सरकारको नीति छ, सोहीअनुसार अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको छ । प्रदूषण कम गर्ने उपायमध्ये एउटा जीवाष्मा इन्धनको खपत घटाई आन्तरिक स्वच्छ ऊर्जाको खपत बढाउने हो । विद्युतीय चुलो र सहरी क्षेत्रमा विद्युतीय सवारीलाई प्राथमिकता दिनुपर्‍यो । यसमा प्रोत्साहन गर्न कर घटाउनुपर्ला । विद्युतीय सवारीमा ४ पटक करको दर बढाउने, घटाउने भइसक्यो । आगामी बजेटमा करको दर हेरफेर पाँचौं पटक हुँदैछ । अहिले दर बढाउने तर ४ महिनापछि अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा भएन भन्दै कर घटाउनेतर्फ लाग्नुभएन । हामीले घोषणा गरेका यी कार्यक्रम यति वर्षसम्म बहाल रहन्छन्, त्यतिन्जेल प्रयोग गर्नुभयो भने ठिकै छ, त्यसपछि खारेज हुन्छ भन्ने हो । विद्युतीय सवारीमा दिएको अनुदान चीनले फेजआउट गर्दैछ, अमेरिकाले गरिसक्यो । नर्वे, भारतले गरेका छैनन् । हामी पनि त्यस्तै गरौं । जुन सर्तमा व्यवसाय सुरु गर्ने हो त्यो अवधिसम्म निश्चित रहनुपर्‍यो ।

अर्थतन्त्रका बाह्य क्षेत्र, वित्तीय क्षेत्र र समष्टिगत क्षेत्रमा अहिलेको अवस्था कस्तो पाउनुभएको छ ?
ब्याजदरको स्थिरता, मूल्यवृद्धि र आर्थिक वृद्धिदरमा हामी राम्रो छौं । मूल्यवृद्धि ५ प्रतिशभन्दा कम हुनु भनेको नेपालको लागि उत्तम हो । ४ भन्दा कम पनि हुनु हुँदैन । ५ देखि साढे ५ प्रतिशत मुलुकको आर्थिक वृद्धिको लागि राम्रो हो । प्रत्येक वर्ष ५ प्रतिशतले किसानको उत्पादनको भाउ बढेन भने किसानले किन उत्पादन गर्छ । उत्पादकलाई प्रोत्साहन गर्नलाई सीमित भाउ बढ्नुपर्छ । तर, राम्रो सूचकको संकेतलाई बजारले त्यही किसिमले नबुझ्दा वास्तविक अर्थतन्त्रभन्दा व्यवहारगत अर्थतन्त्र खराब हुँदै गएको छ । लगानी गर्‍यो भने डुबिन्छ, विदेश नै जाने कि भन्ने भय छ । हामी आर्थिक डिप्रेसनमा नभई व्यवहारगत डिप्रेसनमा छौं । व्यवहारगत अर्थतन्त्र अहिलेको समस्या हो ।
सकारात्मक रहेका आर्थिक सूचकको प्रयोग पनि सही तरिकाले गर्न सकेनौं । हाइड्रोपावर निर्माण सम्पन्न हुने चरणमा पुग्यो । त्यसका लागि आवश्यक प्रसारण लाइन सम्पन्न भएको छैन । सरकारले उक्त प्रसारण लाइन यति महिनामा सम्पन्न गराई विद्युत् एकदिन पनि खेर जान दिन्नौं भन्न सक्नुपर्‍यो । बाह्य क्षेत्रको अवस्था ज्यादै राम्रो छ । ती अवस्थाले सिर्जना गरेको लाभलाई उपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । १५ महिनालाई पुग्ने वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चित छ भन्दै गर्व गर्छौं । त्यसको उपयोग गरी पुँजीगत उपकरण आयात गर्न सक्यौं भने नेपालभित्रै उत्पादन क्षमता वृद्धि हुन सक्छ । उच्च प्रविधिका उद्योग, ठूला उद्योग यस्तो बेला स्थापना गर्नुपर्छ । त्यो खोल्नका लागि सरकारले सुविधा दिनुपर्छ । विदेशी मुद्रा सञ्चिति उपयोग गर्न नसक्दा त्यसको लाभ अन्य मुलुकले पाइरहेका छन् । किनकि राष्ट्र बैंकले विदेशी मुद्रा नेपालमा नभई अन्य मुलुकका बैंकमा राख्छ । त्यो पैसा बाहिर परिचालन भइरहेको छ ।

बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी रकम थुप्रिएको छ । व्यवहारगत होस् या नीतिगत अहिलेको अर्थतन्त्रका सम्पूर्ण समस्या नेपाल राष्ट्र बैंकको नीतिका कारण आयो भन्ने निजी क्षेत्रको आरोप छ नि ?
मलाई त्यस्तो लाग्दैन । कोरोना महामारीको समयमा वित्त नीतिबाट आफ्नो जिम्मेवारीलाई जवाफदेहिता पूरा नगर्दा राष्ट्र बैंकको मौद्रिक नीति अग्रसर भएर आयो । परिमाणात्मक सहजीकरण अर्थात् प्रशस्त रूपमा मुद्रा बजारमा पठाइयो । छोटो समयको लागि ठिकै थियो । त्यसको वाहवाही बढ्दा राष्ट्र बैंक बहकियो, त्यहाँबाट सिर्जना भएको समस्यासँग आज हामी जुधिरहेका छौं । मूल्य स्थिरता, विनिमय दरको स्थिरता, समष्टिगत आर्थिक स्थिरता कायम गर्न वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने प्राथमिक दायित्व राष्ट्र बैंकले पूरा गर्‍यो कि गरेन ? गरेको छ भने राष्ट्र बैंकलाई त्यसमै सीमित राखौं । अर्थतन्त्रका सारा उद्देश्य रोजगारी सिर्जना, आर्थिक वृद्धिको लक्ष्य प्राप्ति, ग्रामीण विकास, गरिबी निवारण, निजी क्षेत्रको मनोबल उकास्नेलगायत लक्ष्यमा राष्ट्र बैंकलाई दोष नदिऔं ।
ब्याजदर स्थिरता अर्को महत्त्वपूर्ण विषय हो । ब्याजदर उछालिएर १५ प्रतिशत पुग्यो, झरेर ६ प्रतिशतमा पनि पुग्यो । ६ प्रतिशतमा पनि खराब, १५ प्रतिशत पनि खराब । यी दुई चरणबाट मुक्त हुने प्रयत्न गर्नुपर्छ । नेपाल–भारतबीच मुद्रामा ‘पेग’ कायम गरिएको हुनाले तल झार्न पनि सक्दैनौं । तल झार्नेबित्तिकै नेपालबाट पुँजी पलायन भएर भारत जाने सम्भावना आउँछ । सन्तुलन कायम गर्नुपर्ने भएकाले ब्याजरदमा संयम रहनुपर्छ । त्यो भूमिका राष्ट्र बैंकले आफ्नो वित्तीय औजारबाट प्रयोग गर्न सक्छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, सेयर कर्जामा सीमा, ब्याजदर बढाउन र घटाउन राष्ट्र बैंककै हस्तक्षेप देखिएको छ । अप्ठ्यारो परेका बेला नीतिगत उतारचढाव र कठोर नीति ल्याउन त उत्तरदायी भएन होला नि ?
राष्ट्र बैंकले ब्याजदरमा एकपटक हस्तक्षेप गर्‍यो । त्यसपछि गरेको छैन । राष्ट्र बैंकले पोहोरदेखि ब्याजदर करिडोरलाई सक्रिय रूपमा कार्यान्वयन गर्न सुरु गरेको छ । पहिला निक्षेप स्वीकार गर्ने हिम्मत गरेको थिएन । अहिले निक्षेप स्वीकार गर्दै हरेक महिना लिइरहेको छ । ब्याजदर करिडोरलाई प्रभावकारी गराउँदै लिएर गइसकेपछि गाली गर्नु पर्दैन । चालु पुँजी कर्जा दुरुपयोग भएको थियो । त्यो दुरुपयोगचाहिँ असल बैंकिङ अभ्यास गर्ने बैंकहरूले गर्नु हुन्न भन्ने थियो । बैंकिङ प्रणालीमा नियमनकारी निकायले हस्तक्षेप गरेन भने चालु पुँजी कर्जामा भएको दुरुपयोगले कुनै दिन बैंकिङ प्रणालीलाई नै ध्वस्त बनाउने आवाज उठ्न थालेको थियो । ठूला व्यवसायीहरू पनि दुरुपयोगबारे जानकार थिए । नेपालको सन्दर्भमा राष्ट्र बैंक फरक ढंगले आफ्नै नीति बनाएर अघि
बढ्यो । जुन अन्तर्राष्ट्रिय अभ्यास पनि हो । दुरुपयोग नियन्त्रण गर्नका निमित्त चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन आयो । हठात् आएकाले पहिले सूचना किन नदिइएको भन्ने प्रश्न गर्न सकिन्छ ? तर बैंकहरूलाई आन्तरिक सूचना दिँदा टेरपुच्छर नलागेपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन आएको हो ।
ऋण र मूल्य अनुपात, जोखिम भार अन्तर्राष्ट्रिय अभ्यास हो । अत्यन्त महत्त्वपर्ण उत्पादनको साधन भएकाले समन्यायिक रूपमा कर्जा वितरण नहुँदा कतिपय वर्गले आफ्नो उत्पादनशील क्षमतालाई कुण्ठित गर्नुपर्छ । बैंकबाट कर्जा नपाउँदा साना तथा घरेलु व्यवसायी सहकारीमा आश्रित भए । सहकारी डुब्दा कर्जाको स्रोत नै सुक्यो । त्यसकारण साना तथा घरेलु व्यवसाय संकटमा परे । सीमित घरानाले मात्र कर्जामा पहुँच पाउने हो भने आर्थिक असमानता हुन्छ, त्यसलाई रोक्न राष्ट्र बैंकले काम गरेको छ । तर कुनै कुनै समयमा ‘क्यालिब्रेसन’ गर्दा ध्यान पुर्‍याइएन कि भन्ने प्रश्न गर्न सकिन्छ ।

सहकारी डुब्दा कर्जाको स्रोत नै सुक्यो भन्नुभयो । सहकारीको समस्या त भयावह देखिन्छ । यो सस्याको सामधान तथा व्यवस्थापन कसरी गर्न सकिन्छ ?
गल्ती गर्नेलाई दण्ड गर्नबाहेक अन्य विकल्प छैन । सहकारीसँग सरोकार नभएको, कुनै लाभ नलिएको, लगानी पनि नगरेको आम नागरिकले तिरेको कर सहकारीमा रकम डुबाएका व्यक्तिको उद्धार गर्नका निमित्त प्रयोग गर्नु हुँदैन । सहकारीको सम्पत्ति, सहकारी दुरुपयोग गर्ने व्यक्तिहरूको सम्पत्तिबाट पुगेन भने र साना निक्षेपकर्ताको रकम डुबेको हो भने अन्तिम बिन्दुमा सरकार राहत लिएर जानुपर्ने आवस्था आउला । जुन विश्वव्यापी अभ्यास पनि हो ।
समस्याग्रस्त सहकारीको संकटापन्न सम्पत्ति बेचबिखन गरेर असुलउपर गर्ने निकाय खडा गर्नु आवश्यक छ । सहकारीमा राजनीतिक रूपमा पुलपुल्याउने काम धेरै भयो । उनीहरूले गरेका कतिपय गल्ती क्षम्य गरियो । बेलैमा दण्ड लगाउने, सम्झाउने भइदिएको भए आज यस्तो नहुन सक्थ्यो । तर त्यस्तो नियमनकारी निकाय सहकारी विभाग हुन सकेन । अहिले आम रूपमा राष्ट्र बैंकले नियमन गरिदिए हुन्थ्यो भन्ने माग छ । नियमन राम्रो गर्छ भन्दैमा सबै समस्या परेका ठाउँमा राष्ट्र बैंकलाई लैजान हुँदैन । आवश्यक छ भने अर्को सहकारी क्षेत्र नियमनकारी निकाय खडा गरे भयो । सहकारी संस्थाले अवलम्बन गर्नुपर्ने वित्तीय अनुशासन पनि छ । त्यसको परिपालना भयो कि भएन भन्ने अनुगमन गर्नुपर्थ्यो । सहकारी डुबेको पहिलो घटना होइन । झन्डै १५/१६ वर्षअघि पनि सहकारी डुबेका हुन् । यो दोस्रो चरणको डुबाइ हो । भोलिका दिनमा फेरि सहकारी डुब्नुअघि हामीले केही तयारी गर्नुपर्छ ।

Page 6
युवा ग्यालरी

कान्तिपुर हाफ म्याराथन

- कान्तिपुर संवाददाता

‘रन टु इन्स्पायर द योङ’ नाराका साथ कान्तिपुर हाफ म्याराथन सम्पन्न भएको छ । कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करणको उद्घाटन शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाट सुरू २१ किमि हाफ म्याराथन माइतीघर, बानेश्वर, कोटेश्वर, थिमि र सल्लाघारी चोकसम्म फन्को लगाएर सम्पन्न भएको हो । म्याराथनअन्तर्गत ह्विलचेयर दौडसहित कर्पोरेट रनमा ५ किमि र कलेज रनका सहभागीले ७ किमिको दूरी पार गरेका थिए । सिटी म्याराथनको अवधारणामा कान्तिपुर पब्लिकेशन्स्ले २०६७ सालदेखि कान्तिपुर हाफ म्याराथनको आयोजना गर्दै आएको छ । हाफ म्याराथनमा झन्डै ३ हजारको सहभागिता थियो ।

 

Page 7
अर्थ वाणिज्य

इन्टरनेट 'सटडाउन’ हुने देशको सूचीमा प‍र्‍यो नेपाल

- सजना बराल

(काठमाडौं)
भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमाथिको प्रतिबन्धका कारण इन्टरनेट ‘सटडाउन’ हुने देशहरूको सूचीमा पहिलो पटक नेपाल पनि परेको छ । विश्वमा सबैभन्दा धेरै इन्टरनेट सटडाउन हुने देशमध्ये भारत भने यसपालि लगातार छैटौं पटक पहिलो स्थानमा देखिएको छ । सन् २०२३ मा भारतमा सर्वाधिक ११६ पटक इन्टरनेट प्रतिबन्धका घटना भएको ‘स्रिंकिङ डेमोक्रेसी, ग्रोइङ भायलेन्स’ प्रतिवेदनमा उल्लेख छ । नेपाल, मोजाम्बिक, केन्या र सुरिनाममा भने पहिलो पटक इन्टरनेट प्रतिबन्ध खेप्नेमा परेका छन् ।
डिजिटल अधिकारको वकालत गर्ने ‘एक्सेस नाउ’ र इन्टरनेट प्रतिबन्धविरुद्ध अभियान चलाउँदै आएको ‘किप इट अन’ संस्थाले वार्षिक रूपमा सार्वजनिक गर्दै आएको रिपोर्टमा नेपाललाई ‘न्यु अफेन्डर’ सूचीमा राखिएको छ । ‘पास्ट अफेन्डर’ मध्ये इरान, चीन, इथियोपिया जस्ता देशमा पटक–पटक इन्टरनेट सटडाउन गरिँदै आएको उल्लेख छ ।
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको हुनाले इन्टरनेट सटडाउन हुने देशको सूचीमा परेको प्रतिवेदनमा भनिएको छ । ‘सेनेगलदेखि इथियोपिया, नेपालदेखि भारत र रुस सरकारहरू निरन्तर रूपमा इन्टरनेट र संवेदनशील डिजिटल सञ्चार प्लाटफार्महरू बन्द गरेर अभिव्यक्ति कुण्ठित गर्ने, महत्त्वपूर्ण सूचनामा पहुँच रोक्ने र मानवताविरुद्ध जघन्य अपराध ढाकछोप गर्ने गरेका छन्,’ प्रतिवेदनको पृष्ठ ९ मा भनिएको छ ।
सामाजिक सद्भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ मा नेपाल सरकारले टिकटक बन्द गर्ने घोषणा गरेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ वटा रिट निवेदन दर्ता भए पनि अझै सुनुवाइ हुन सकेको छैन । सर्वोच्चले १४ वटै रिटलाई लगाव मुद्दाका रूपमा एकै स्थानमा समेटेर १० असोज २०८१ का लागि हालै नयाँ पेसी तोकेको छ । वैशाख २७ का लागि पेसी तोकिएकामा त्यस दिन बहस नभएपछि नयाँ पेसी तारेख तोकिएको थियो । डिजिटल अधिकारका पक्षमा वकालत गर्दै आएका स्थानीय ३० वटा संस्थाले पनि टिकटकमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएर सञ्चार र अभिव्यक्तिको यो महत्त्वपूर्ण प्लाटफर्मलाई रोक्नुले विश्वव्यापी डिजिटल समुदायमा सहभागी हुने अवसरलाई सीमित गर्ने सरकारको नियत देखिएको भन्दै यसलाई सच्याउन आग्रह गर्दै आएका छन् ।
‘स्रिंकिङ डेमोक्रेसी, ग्रोइङ भायोलेन्स’ प्रतिवेदनका अनुसार सन् २०२३ मा कुल ३९ देशहरूमा २८३ वटा इन्टरनेट सटडाउनका घटना भएका थिए । सरकार, सेना र अन्य निकायले जनसरोकारका संवेदनशील क्षण वा संकटपूर्ण अवस्थामा इन्टरनेट सटडाउनलाई आफ्नो नियन्त्रण कायम गर्ने हतियारका रूपमा लिँदै आएको प्रतिवेदनमा भनिएको छ । सन् २०२३ मा पहिलो पटक इन्टरनेट सटडाउन गर्ने देशमध्ये नेपालमा टिकटक, केन्यामा टेलिग्राम, सुरिनाममा मेटाका फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम बन्द गरिएका छन् । इन्टरनेट सटडाउनमा लगातार छैटौं पटक सबैभन्दा अगाडि देखिएको भारतमा पछिल्लो पाँच वर्षमा ५ सयभन्दा धेरै पटक इन्टरनेट बन्द गरिएको रिपोर्टमा उल्लेख छ ।
‘दुनियाँको सबैभन्दा ठूलो लोकतन्त्र भनिने भारतमा इन्टरनेट प्रतिबन्धले लाखौ‌ं मानिसलाई पटक–पटक अँध्यारोमा डुबाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२३ मा मात्रै १३ वटा राज्यहरूले सटडाउनको निर्देशन दिए, जसमध्ये पाँचभन्दा धेरै पटक इन्टरनेट प्रतिबन्धका घटना भए ।’ भारतका विभिन्न राज्यहरूमा भएको इन्टरनेट सटडाउनका कारण आर्थिक वर्ष २०२३ को पहिलो ६ महिनामा भारतको अर्थतन्त्रमा लगभग १.९ अर्ब डलरको नोक्सानी भएको ग्याजेट ३६० (एनडीटीभी) को समाचारमा पत्रकार आकाश आनन्दले उल्लेख गरेका छन् ।
‘देशको पूर्वोत्तर राज्य मणिपुरमा जारी जातीय हिंसाका कारण त्यहाँ इन्टरनेट बन्द गरिएको थियो,’ उनले लेखेका छन्, ‘यसअघि पञ्जाबमा पनि इन्टरनेटमा रोक लगाइएको थियो ।’ मिथ्या सूचना र झुटा खबर नफैलिऊन् भन्दै पञ्जाबमा मोबाइल इन्टरनेटसमेत बन्द हुँदा २ करोड ५० जना मानिस इन्टरनेटबाट वञ्चित भएका थिए ।
एसिया प्रशान्त क्षेत्रका सात देशमा इन्टरनेट सटडाउनका घटना १६७ पटक भएको देखिन्छ । भारतपछि म्यानमारमा ३७ पटक, पाकिस्तानमा ७, बंगलादेशमा ३, चीनमा २ र इन्डोनेसिया र नेपालमा एक–एक पटक इन्टरनेट सटडाउनका घटना भएको एक्सेस नाउले जनाएको छ । प्रतिवेदनमा विशेषतः सरकारहरूले विभिन्न बहानामा गरेको इन्टरनेट बन्दलाई समावेश गरिएको छ । युक्रेन र प्यालेस्टाइनमा भने सरकार नभई तेस्रो पक्षले इन्टरनेट अवरोध गरिएकाले सटडाउनका घटना भएको त्यसमा खुलाइएको छ ।
एक्सेस नाउले सन् २०१६ देखि इन्टरनेट सटडाउनको विश्वव्यापी आँकडा सार्वजनिक गर्दै आएको छ । यसपालि सबैभन्दा धेरै सटडाउनका घटना भएको र सन् २०२२ को तुलनामा सन् २०२३ मा ४१ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा भनिएको छ । प्राकृतिक विपद्का कारण सन् २०२३ मा ९ वटा देशमा ७४ पटक इन्टरनेट सटडाउन भएकामा विरोध कार्यक्रमका कारण १५ देशमा ६३ पटक, परीक्षाका कारण ६ देशमा १२ पटक र निर्वाचनका कारण ५ देशमा ५ पटक इन्टरनेट सटडाउन भएका थिए ।

अर्थ वाणिज्य

ठेक्का भएको ३ वर्षमा छिचोलियो फास्ट ट्र्याकको लेनडाँडा सुरुङ

- विमल खतिवडा

(काठमाडौं)
काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङ ठेक्का भएको तीन वर्षपछि शुक्रबार छिचोलिएको छ । १ हजार ४ सय ३० मिटर दूरीको उक्त सुरुङ फास्ट ट्र्याकमा निर्माण जारी रहेका अन्य सुरुङमध्ये छोटो हो । यो काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । अब यसको फिनिसिङको काम गरिने बताइएको छ । अन्य दुई सुरुङमार्ग पनि निर्माणको अन्तिम चरणमा रहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए ।
असारसम्म अन्य दुईवटा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको केसीको भनाइ छ । औपचारिक कार्यक्रम भने तीनवटै सुरुङको ‘ब्रेक थ्रु’ भएपछि मात्र गरिने सेनाले जनाएको छ । यस आयोजनामा पर्ने सबैभन्दा लामो ३ हजार ३ सय ५५ मिटरको महादेवटार सुरुङ २ हजार १ सय ५८ मिटर खनिसकिएको छ । अब १ हजार १ सय ९७ मिटर मात्र खन्न बाँकी छ । त्यस्तै १ हजार ६ सय ३० मिटर दूरी रहेको धेद्रे सुरुङ १ हजार ५ सय ६ मिटर खनी सकिएको र १ सय २४ मिटर मात्र खन्न बाँकी छ ।
सबै सुरुङको ठेक्का सम्झौता ०७८ वैशाख ३१ मा भएको थियो । यसअनुसार लेनडाँडा सुरुङ खन्ने काम ०८१ वैशाख भित्र सकिसक्नुपर्ने थियो । धेद्रेको ०८१ जेठ र महादेवटार सुरुङको ०८१ असोजमा म्याद सकिँदै छ ।

‘धेद्रेको जेठसम्म र महादेवटार सुरुङ निर्माणको असोजसम्म समय छ,’ प्रवक्ता केसीले भने, ‘धेद्रेको समयभित्रै र महादेवटारको समयभन्दा अघि नै खन्ने काम सकिन्छ ।’
फास्ट ट्र्याकको पहिलो प्याकेजमा चाइना स्टेटले छोक्रेडाँडादेखि धेद्रेसम्मको सुरुङ निर्माण गर्न २१ अर्ब ६१ करोड रुपैयाँमा ठेक्का लिएको हो । दोस्रो प्याकेजमा पर्ने धेद्रेदेखि लेनडाँडासम्मको सुरुङ निर्माण गर्न पोली चङ्दाले २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का लिएको हो । एउटै प्याकेजमा दुईवटा सुरुङ (जाने र आउने) निर्माण गरिएको र अहिले लेनडाँडा सुरुङ खन्ने काम सकिएको सेनाले जनाएको छ । ‘समग्र आयोजनामा सुरुङ निर्माणमा राम्रो प्रगति छ, पुल निर्माणमा पनि प्रगति बढेको छ,’ प्रवक्ता केसीले भने, ‘खोकनाबाहेकको सबै खण्डमा ठेक्का भएर काम भइरहेको छ ।’
पछि थप भएका तीनवटा सुरुङ ठेक्का भएर डिजाइनको क्रममा रहेको सेनाले बताएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा पर्ने २ हजार २ सय ५० मिटरको चन्द्राम भीर सुरुङ, ललितपुरस्थित वाग्मती गाउँपालिकामा पर्ने १ किमिको देवीचौर र ०.३९ किमिको सिसौटार सुरुङको ठेक्का भएर डिजाइनको चरणमा छन् । चन्द्राम भीर प्याकेज नम्बर १०, देवीचौर र सिसौटार सुरुङ प्याकेज नम्बर ८ ‘ख’ अन्तर्गत ठेक्का भएको सेनाले जनाएको छ ।
ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको सुरु दूरी ७२.५ किमि थियो । अहिले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) संशोधन भएर सुरुङ थप भएपछि यसको दूरी डेढ किमि घटेको हो । अहिले यसको दूरी ७०.९७७ किमिमा झरेको छ । जसमा सुरुङमार्गको दूरी मात्र १०.०५५ किमि छ । अर्थात् कुल सडक दूरीमा १४.१६ प्रतिशत सुरुङमार्ग पर्छ ।
८९ पुलमध्ये ८५ वटा पुलको ठेक्का सम्झौता भएर काम भइरहेको प्रवक्ता केसीको भनाइ छ । यसमध्ये ५ पुलको निर्माण सम्पन्न भइसकेको छ । ‘खोकना खण्डमा पर्ने ४ वटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन,’ उनले भने, ‘अन्यत्र ठेक्का भएको खण्डमा अग्ला र विशेष प्रकृतिका पुलहरूको निर्माण जारी छ ।’ खोकनाको ६.५ किमि खण्डको विवाद समाधान गरेर काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।
नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको फास्ट ट्र्याकमा खोकना खण्डलाई अन्तिम ११ नम्बर प्याकेजमा राखिएको छ । सुरुङ मार्गको सबैभन्दा बढी खण्ड मकवानपुरमा पर्छ । यसअनुसार ललितपुरमा ९ किमि, काठमाडौंमा ४.६ किमि, मकवानपुरमा ४९.७७ किमि र बारामा ७.६ किमि पर्छ । निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाख २१ मा सेनालाई दिएको हो । यसको निर्माण ०८१ मंसिरभित्र निर्माणको काम सकिनुपर्ने थियो । तर उक्त अवधिमा निर्माण नसकिने भएपछि ०८३ चैतसम्म म्याद थपिएको छ ।
०७६ असोजमा सरकारबाट डीपीआर
स्वीकृत भएर आएपछि मात्र आयोजनाको काम सुरु भएको सेनाको दाबी छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (हालका पनि प्रधानमन्त्री) ले ०७४ जेठ १४ मा शिलान्यास गरेसँगै यो आयोजना निर्माण सुरु भएको हो । अहिलेसम्म यसको भौतिक प्रगति ३३.९९ प्रतिशत छ । आयोजनाको सुरु लागत अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ हो । संशोधन गरेर
अहिले २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्‍याइएको छ । अहिलेसम्म ६० अर्ब ४४ करोड रुपैयाँ खर्च भइसकेको छ ।

अर्थ वाणिज्य

घरजग्गा कारोबारमा आउन सकेन उत्साह

- सीमा तामाङ

(काठमाडौं)
चालु आर्थिक वर्षको चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबार र राजस्वमा सामान्य गिरावाट आएको छ । चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व ८ करोड ४३ लाख रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षमा घरजग्गा कारोबार र राजस्वमा स्थिर देखिएको छ । चैतको तुलनामा वैशाखमा समग्र कारोबार ४ हजार ८६८ र कित्ताकाट ९२६ ले घटेको विभागको तथ्यांक छ । चैतमा १ लाख ३१ हवार ५५८ पटक कित्ताकाट हुँदा वैशाखमा १ लाख ३० हजार ६३२ पटक भएको थियो ।
चैतमा १ लाख ४६ हजार ६५० कारोबार हुँदा वैशाखमा १ लाख ४१ हजार ७८२ पटक भएको थियो । घरजग्गा कारोबारबाट चैतमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व उठ्दा वैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ उठेको छ ।
सरकारले ०७९ जेठ २३ मा भूउपयोग नियमावली जारी गरेको थियो, जसअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्रै कित्ताकाट गर्न पाइन्थ्यो । यो नीतिका कारण सोही वर्षको साउनदेखि कित्ताकाटसँगै समग्र घरजग्गा कारोबार घट्न थालेको थियो । व्यवसायीहरूले कित्ताकाट नहुँदा घरजग्गा कारोबार बढ्न नसकेको बताउँदै आएका थिए । त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन अर्थमन्त्री प्रकाशशरण महत र तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायतले ‘जग्गाको कित्ताकाट खुला भएसँगै’ अर्थतन्त्र चलायमान हुने दाबी गरेका थिए ।

तर कित्ताकाट खुलाउँदासमेत गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको कारोबार उस्तै देखिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल १० लाख ३२ हजार ४५५ पटक कित्ताकाट भएको थियो । सोही अवधिमा कित्ताकाट लिखत पारित ४ लाख ८१ हजार ६१८ पटक भएको थियो । कुल कित्ताकाटमा लिखत पारित, नामसारी, संशोधन, हाल साविक, रोक्का, फुकुवालगायत जोडिने विभागले जनाएको छ । लिखत पारितमा सोही अवधिमा भएको वास्तविक कित्ताकाट संख्या उल्लेख हुने बताइएको छ । गत आर्थिक वर्ष साउनदेखि वैशाखसम्म कुल कित्ताकाट ४ लाख ३० हजार ६८० हुँदा लिखत पारित १ लाख ७६ हजार १६२ पुगेको थियो ।
चैत र वैशाखको घरजग्गा कारोबारमा खासै फरक नदेखिएको नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष लोहनी बताउँछन् । अर्थतन्त्र नै शिथिल र सबै सेक्टरका व्यवसायीहरूको मनोबल गिरेका कारण घरजग्गा कारोबार बढ्न नसकेको उनको बुझाइ छ । ‘हरेक सेक्टर क्षमताभन्दा कममा चलिरहेको छ, यस्तोबेला घरजग्गा कारोबार मात्र बढ्ने नै भएन्,’ उनले भने । विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा कुल कारोबार १२ लाख ९८ हजार ८४५ हुँदा लिखत पारित ४ लाख २९ हजार ९५५ भएको थियो । गत आर्थिक वर्ष सोही अवधिमा कुल कारोबार १० लाख ५८ हजार २२० हुँदा ३ लाख ६३ हजार ७६८ भएको थियो । चालु आर्थिक वर्षको साउन देखि वैशाखसम्म ३३ अर्ब ५ करोड ७४ लाख रुपैयाँ राजस्व उठेको छ । गत आर्थिक वर्ष सोही अवधिमा ३३ अर्ब १२ करोड ७३ लाख ६४ हजार रुपैयाँ राजस्व उठेको थियो ।
पालिकाले कृषि र गैरकृषि छुट्याउन ढिलाइ गरेपछि ०७९ मंसिरदेखि कित्ताकाट ठप्प भएको थियो । गत साउन ३० को मन्त्रिपरिषद् बैठकले पुनः कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सरकारले नियमावली संशोधन गरेर आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । यसअघि आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइन्थ्यो । प्लानिङको स्वीकृति लिएकाहरूलाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । पहिला प्लानिङको अनुमति लिने र नलिने दुवैलाई १३० वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने व्यवस्था थियो । तर, सरकार र व्यवसायीले भनेअनुसार घरजग्गा कारोबार बढ्न सकेको छैन ।
कारोबार नबढ्नुमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति बाधक बनेको व्यवसायीहरूको ठम्याइ छ । गत साउनमा राष्ट्र बैंकले पहिलो घर बनाउन चाहनेले अधिकतम २ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । यसअघि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था थियो । रियल इस्टेट कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशत पुर्‍याए पनि यसलाई सय प्रतिशत पुर्‍याउनुपर्ने लोहनीको माग छ ।
५० लाख रुपैयाँदेखि २ करोडसम्मको घरजग्गा कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ५० प्रतिशत थियो । शुक्रबार गरिएको राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत मासिक किस्ता आम्दानी अनुपातलाई ७० प्रतिशत पुर्‍याएको छ । राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गर्दै कर चुक्ता प्रमाण पेस गरेको आधारमा अब ७० प्रतिशत पुर्‍याएको हो ।
५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ६० प्रतिशत कायम गरिएको लोहनीले जनाए । अहिलेको समयमा यसलाई बढाएर न्यूनतम ८० प्रतिशत नै पुर्‍याउनुपर्ने उनले बताए । सरकारले मौद्रिक नीतिको संशोधन गर्दै घरजग्गामा सहजीकरण गर्नु सकारात्मक रहेको लोहनीको भनाइ छ । ‘व्यक्तिगत कर्जाको हकमा राष्ट्र बैंकले खुकुलो नीति अपनायो, व्यवसायीहरूको हकमा पनि गर्नुपर्छ,’ उनले भने । मौद्रिक नीतिमा सहजीकरण गरेसँगै केही हदसम्म घरजग्गा कारोबार बढ्न सक्ने अनुमान गर्न सकिने उनले जनाए ।

 

Page 8
अर्थ वाणिज्य

'बुद्धभूमि’ ब्रान्डमा मही

- मनोज पौडेल

(कपिलवस्तु)
बुद्धभूमि नगरपालिका–९ इमिलियामा ग्लोबल डेरी उद्योगले व्यावसायिक मही उत्पादन सुरु गरेको छ । उद्योगले वैशाख पहिलो सातादेखि दैनिक १ हजार लिटर मही उत्पादन गरेर बिक्री थालेको हो ।
५० करोड रुपैयाँ लगानीमा १० वर्षअघि सञ्चालनमा आएको उद्योगले अहिले नयाँ प्रडक्टका रूपमा मही उत्पादन थालेको हो । नेपालमै पहिलो पटक बोटलिङ र लेभलिङ गरी महीको व्यावसायिक उत्पादन सुरु गरिएको उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।
उद्योगले एक लिटरको बोतलमा आकर्षक प्याकसहित मही बजारमा ल्याएको छ ।
बुद्धभूमि र शिवराज नगरपालिकाबाट बिक्रीवितरण सुरु गरिएको मही अहिले लुम्बिनी प्रदेशका भारतीय सीमावर्ती ६ जिल्लामा बजार विस्तार गरिएको अध्यक्ष न्यौपानेले सुनाए । अब प्रदेशभरि पुर्‍याएर मुलुकभर लैजाने लक्ष्य राखेको उनको भनाइ छ । बुद्ध जन्मस्थलको पहिचान स्थापित गर्न ‘बुद्धभूमि’ ब्रान्डमा मही उत्पादन सुरु गरिएको उनले जनाए । ‘यसले बुद्ध जन्मस्थलको मही कस्तो रहेछ भन्ने जिज्ञासा पनि हुन्छ,’ उद्योगका लेखा अधिकृत शंकर पाण्डेले भने, ‘शीतलतासँगै महीले दिने ऊर्जाले आनन्दित पनि बनाउँछ ।’
महीको उपभोक्ता मूल्य ५० रुपैयाँ तोकिएको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयाँ परेकाले उद्योगको प्रतिबोतल लागत ३८/४० रुपैयाँ रहेको पाण्डेले बताए । महीको स्वच्छता र गुणस्तरमा ध्यान दिन फुड टेक्नोलोजिस्टको सिफारिसअनुसारको दही प्रयोग भइरहेको उनको भनाइ छ । ‘सुरुमा दही जमाउने दूधको फ्याट परीक्षण गरिन्छ । त्यसपछि दहीको अम्लीयपन र पीएच जाँच गरेर सेवनयोग्य दहीबाट मही बनाइन्छ,’ उनले भने, ‘दही र प्रशोधित पानी प्लन्जरमा मथेर टुटीबाट झारेर बोटलिङ गरिन्छ ।’ १२ बोतलको एउटा प्याक बनाएर प्रिजिङ गरेपछि मागअनुसार बजारमा पुर्‍याउने गरिएको छ ।
उत्पादित मही ५/६ दिनसम्म उपभोग गर्न योग्य हुने उद्योगका फुड टेक्नोलोजिस्ट राजेन्द्रसिंह लोधले बताए । अहिलेसम्म २८ हजार लिटर बिक्री भइसकेको छ । बोटलिङ पनि राम्रो र स्वाद पनि मीठो भएको इमिलियाका उपभोक्ता पुनाराम अर्यालको भनाइ छ ।
बजारमा पाइने चिसो पेय पदार्थको विकल्पमा स्थानीय उत्पादन महीबारे सकारात्मक प्रतिक्रिया पाएपछि उत्साहित भएको अध्यक्ष न्यौपानेले जनाए । उद्योगको दैनिक ३ हजार लिटर मही उत्पादन क्षमता भएको न्यौपाने बताउँछन् ।
महीको नियमित सेवनले पाचन प्रक्रिया राम्रो बनाउने र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्ने कविराज दीपक पन्थीले बताए । यसमा पोटासियम, क्याल्सियम र प्रोटिनजस्ता तत्त्व पनि समावेश हुन्छ । दैनिक ५० हजार लिटर दूध संकलन गरिरहेको उद्योगले भविष्यमा धूलो (पाउडर) दूध उत्पादन र महीको उत्पादन बढाएर दैनिक १ लाख लिटर दूध व्यवस्थापन गर्ने योजना रहेको न्यौपानेले बताए ।
महीको बजारीकरण राम्रो भयो भने किसानको दूध बिक्रीवितरण नहुने समस्या पनि समाधान हुने बुद्धभूमि नगरपालिकाका कृषक शिवगुलाम कोरीले जनाए । लुम्बिनी प्रदेशमा उद्योगका ७९ र सुदूरपश्चिमका दुई स्थानमा दूध संकलन केन्द्र सञ्चालनमा छन् । त्यसमा १५ हजार किसान आबद्ध छन् । प्रदेशका करिब ५ सय दूध डेरी बिक्री केन्द्रसँग समन्वय गरेर उद्योगले दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ । उद्योगले दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

अर्थ वाणिज्य

देश समृद्ध बनाउन ‘उद्यम र उद्यमशीलता प्रवर्द्धन’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले उद्यम र उद्यमशीलताको प्रवर्द्धन गर्न सके मात्र देश समृद्ध हुने बताएका छन् । उद्यमशील कांग्रेसले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा पूर्वरक्षा तथा सञ्चारमन्त्रीसमेत रहेका नेता रिजालले सरकार र नेतृत्वको
तीव्र इच्छाशक्तिले मात्र यो सम्भव रहेको दाबी गरे ।
ससानो पुँजीबाट मात्र ठूलो सफलता हासिल हुने भएकाले त्यसलाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ । स्थानीय उत्पादनलाई बजारसम्मको बाटो राज्यस्तरबाटै निर्माण हुनुपर्ने र बजेटमार्फत नै कार्यक्रम ल्याउनुपर्नेमा नेता रिजालले जोड दिए ।
नवउद्यमीहरू पटक–पटक असफल हुन सक्ने सम्भावना रहे पनि हतास हुन भने नहुने नवउद्यमशीलतालाई प्रवर्द्धन गर्दै आएका प्रशिक्षक तथा लगानीकर्ता नीरज खनालले बताए । असफलतासँग डराउने मानिस उद्यमी बन्न नसक्ने भएकाले राज्यले पनि सफल व्यक्तिलाई मात्र प्रोत्साहन गर्न नहुने उनले उल्लेख गरे । राज्य दरिलो अभिभावक बन्न सके उद्यमशीलता फस्टाउने उनको भनाइ छ । राज्यले नीति तथा कार्यक्रम ल्याई व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा खनालले जोड दिए ।
सम्पूर्ण जोखिम आफैंले बेहोर्नुपर्ने भएकाले उद्यमशीलता गर्न युवा वर्ग डराएको हुन सक्ने युवा उद्यमी निकिता आचार्यले बताइन् । राज्यपक्ष दरिलो भए देशमा धेरै सफल नवउद्यमी जन्मन सक्ने उनको भनाइ छ ।
उद्यमशीलताको क्षेत्रमा विद्यमान चुनौती न्यूनीकरण र उद्यममैत्री वातावरण निर्माणका लागि सरकारले ठोस नीति तथा
कार्यक्रम ल्याउनुपर्नेमा युवा
उद्यमी एवं ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जोड दिए । त्यसका लागि सरकारलाई सबै पक्षबाट घचघच्याउन आवश्यक रहेको उनको भनाइ छ ।
उद्यमी जन्माउने प्रमुख भूमिका राज्यकै हुने भन्दै आवश्यक प्रक्रिया सहज बनाउन कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले सरकारलाई आग्रह गरे ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


नबिलको सीईओमा पुनः ढुंगाना
काठमाडौं (कास)– नबिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको छ । नबिल बैंकको सञ्चालक समिति बैठकले बिहीबार ढुंगानालाई आगामी असार १७ देखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही तीन दशक बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका ढुंगानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ । नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नुअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए ।
नेपाल लाइफ क्यापिटलको सीईओमा घिमिरे
काठमाडौं (कास)– नेपाल लाइफ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनीष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकले घिमिरेलाई चार वर्षका लागि नियुक्त गरेको हो । इन्भेस्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पुँजी बजारमा घिमिरेसँग एक दशकभन्दा
लामो अनुभव छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एसिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेस्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् । विभिन्न इन्भेस्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादन जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फन्ड, इस्यु म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सञ्चालनमा घिमिरेको विज्ञता छ ।
दी नेपाल डिस्टिलरिजले जोडिदियो सडक बत्ती
काठमाडौं (कास)– दी नेपाल डिस्टिलरिजले काठमाडौं महानगरपालिका–१६ को बालाजुस्थित सडक क्षेत्रमा पोल तथा सडक बत्ती जडान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । सडक बत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको कम्पनीको दाबी छ । व्यवस्थित सडक बत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत टेवा पुग्ने कम्पनीको विश्वास छ । यस कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको खुकुरी रम उत्पादक डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जनाए ।
मिस युनिभर्स नेपालका लागि आवेदन खुला
काठमाडौं (कास)– सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरले मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुला गरेको हो । हरेक वर्षजस्तै सबै क्षेत्रका महिलालाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध रहेको मिस युनिभर्स नेपालका नेसनल डाइरेक्टर संगीता पुरीले बताइन् । प्रतियोगिताको आवेदन जेठ १ देखि असार १ सम्म खुला रहनेछ । इच्छुक महिलाले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फाराम भरेर आवेदन दिन सक्नेछन् । आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रम पनि सञ्चालन गरिने ग्लोबल ग्लामर भेन्चरले जनाएको छ । उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थितिजस्ता अन्य कुनै कुराको प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीका साथै गैरआवासीय नेपाली महिलाले पनि सहभागिता जनाउन पाउनेछन् ।
बजारमा सुजलको ॅरस ब्रान्ड ड्रिंक’
काठमाडौं (कास)– सुजल डेरीले ‘रस ब्रान्ड ड्रिंक’ बजारमा ल्याएको छ । रस ब्रान्ड ड्रिंकमा क्यालिफोर्नियन आल्मोन्ड्स, आयातित केशर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दूध प्रयोग गरिएको छ । ‘रस ब्रान्ड ड्रिंक’ अन्तर्राष्ट्रियस्तरको अटोमेटेड मेसिनबाट उत्पादन गरिने कम्पनीले जनाएको छ । आलमोन्ड्सको स्वाद, केशरको गुडनेस र दूधको तागतले यसले उपभोक्तालाई रिफ्रेससँगै ऊर्जा दिने बताइएको छ । सफलता र निरन्तरको प्रयासलाई प्रोत्साहन गर्नका लागि कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देश पनि ल्याएको छ । रस ब्रान्ड ड्रिंकले उपभोक्तालाई सधैं ‘एक्टिभ रेडी गो’ बनाउने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ । कम्पनीका अनुसार १८० एमएल क्यानको १ सय रुपैयाँ मूल्य तोकिएको छ ।
एसबीआईका ग्राहकलाई स्काइवाक टिकटमा
२० प्रतिशत छुट
काठमाडौं (कास)– नेपाल एसबीआई बैंक र वन्डर्स नेपालबीच स्काइवाक टिकटमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा र वन्डर्स् नेपालका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले यो छुट लिन पाउनेछन् । बैंकको देशभर ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।
नेपाल र अर्मेनिया चेम्बरबीच व्यापार सहकार्य
काठमाडौं (कास)– नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरे । दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्बन्ध विस्तारलयायत विभिन्न ८ विषयमा सहकार्यको सम्झौता भएको हो । संयुक्त लगानीमा उत्पादित वस्तुहरूको घरेलु र तेस्रो बजार खोज्न सहकार्य गर्ने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ । नेपालको कृषि, पर्यटन क्षेत्रमा लगानीका लागि समेत सहमति भएको कार्यकारी सदस्य जालानले बताए । नेपाल र अर्मेनियाका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एकअर्काको देशमा गर्ने व्यावसायिक भ्रमणका लागि पनि सहजीकरण गर्ने सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अनुसन्धान आदानप्रदान गर्ने पनि दुवै देशका चेम्बरबीच सहमति भएको हो । नेपाल र अर्मेनियाबीच आर्थिक र व्यापारिक क्षेत्रमा भएको सहमति तत्कालै कार्यान्वयनमा आएको चेम्बरले उल्लेख गरेको छ ।

Page 9
समाचार

चुरे जोगाउन सप्तरीदेखि माइतीघरसम्म पैदल

- रमेशकुमार पौडेल

(चितवन)
धनुषाको जनकपुर–१९ पुलचोककी ५५ वर्षीया शान्तिदेवी यादव शुक्रबार बिहान चितवन नारायणगढको आँपटारी चोकमा चिया नास्ता गर्दै थिइन् । १९ दिनअघि घरबाट हिँडेकी उनी बिहीबार नारायणगढ पुगेकी हुन् । वैशाख १६ मा सप्तरी भारदहबाट चुरे तथा वनजंगल संरक्षण अभियान लिएर उनीसहित २२ जनाको टोलीले काठमाडौंको पैदलयात्रा सुरु गरेको थियो । दैनिक ३५/४० किलोमिटरका दरले पैदलयात्रा गरिरहेको टोली शुक्रबार नारायणगढबाट हिँडेको छ ।
शान्तिदेवीको घरमा सात वर्षयता चैत लागेपछि चापाकल सुक्न थालेको छ । न हिउँदमा राम्रोसँग पानी पर्छ, न बैशाख–जेठमा । वन जंगल विनाशका कारण खानेपानीको संकट बढेको उनी बताउँछिन् । त्यसैले उनी पनि खानेपानीका स्रोतको संरक्षणका लागि सुरु भएको अभियानमा जोडिएकी हुन् । टोलीमै रहेका जनकपुरकै ५८ वर्षका नन्दा मुखियालाई यस्ता समस्या समाधानका लागि सरकारलाई नझकझक्याइ केही नहुने लाग्छ । आफ्नो स्वास्थ्य समस्याभन्दा सन्ततिका लागि झनै ठूलो समस्या आउने चिन्ता उनलाई छ । त्यस्तो नहोस् भनेर उनी आफ्नो औषधिको पोका नै बोकेर पैदल यात्रामा निस्केका छन् । ‘इनार, पोखरी, तलाव सबै सुक्न थाले । जीवन गाह्रो हुन लाग्यो,’ बिहानै नियमित खाने गरेको औषधिको पोका खोल्दै उनले भने ।
चुरे तथा वनजंगल संरक्षण अभियानले आयोजना गरेको पैदलयात्राका संयोजक हुन्, सुनिल यादव । तराई क्षेत्रमा देखापरेको खानेपानी र सिँचाइका मूलहरूको समस्या चुरे क्षेत्रको बिनाससँग सम्बन्धित रहेको उनी बताउँछन् । बाराको सिम्रौनगढ नगरपालिका–२ महुआहीका सुनिल आठ वर्षअघिसम्म कलैयाको मोटरसाइकल वर्कसपमा काम गर्थे । त्यो बेला उनले पत्रपत्रिकामा चुरे बिनास, यसको असर र जोगिने उपाय बारे समाचार र लेख पढ्थे । ‘ती पढेर मात्रै हैन कि पछि के हो भनेर मैले आफैंले पनि अध्ययन गरें, बुझें । चुरे र वनजंगल नजोगिए मधेस क्षेत्र समस्यामा पर्ने थाहा भयो । त्यसपछि चुरे जोगाउन अभियान चलाइरहेको छु,’ उनले भने ।
मधेसमा वन जंगल विनाश रोक्न सरकारी तत्परता कम भएको उनको ठम्याइ छ । ‘खास गरेर मधेस प्रदेशमा वन क्षेत्रमा सरुवा प्रक्रियाका कुनै उपयुक्त नीतिनियम नै छैन । राजनैतिक पहुँचका आधारमा एकै व्यक्ति एकै ठाउँमा वर्षौं बसेको देखिन्छ । तर संरक्षण गरेको पाइँदैन । वन अतिक्रमण हुँदा हटाएको पाइँदैन,’ उनले भने, ‘भ्रष्टाचार गर्ने र वन मास्नेलाई समाउने हैन, सघाउने नियत राखेको पाइन्छ ।’ त्यसैले उनीहरू १२ बुँदे सुरधारका योजनासहित ज्ञापनपत्र बोकेर पैदलयात्रामा निस्केका हुन् ।
दुई वर्षभन्दा बढी वन क्षेत्रमा कार्यालय प्रमुख भएर बसेका कर्मचारीलाई तत्काल सरुवा गर्न उनीहरूको माग छ । चुरे क्षेत्रका खोलाहरूमा हुने अवैध क्रसर धन्दा र गिट्टीबालुवा दोहन रोक्न ठोस कदम चाल्नुपर्ने पनि उनीहरूको भनाइ छ । मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी डढेलो नियन्त्रणका योजना बनाउन र ओमप्रकाश भनिने दिलीप महतोलाई प्रथम संरक्षण सहिद घोषणा गर्न पनि उनीहरूले माग गरेका छन् ।
सुनिल वर्ष दिनभित्र दोस्रो पटक पैदल काठमाडौं जान लागेका हुन् । गत वर्ष जेठमा उनले वीरगन्ज हुँदै बग्ने सिर्सिया खोलामा भएको प्रदूषणको विषयलाई लिएर भारदहदेखि काठमाडौंसम्म र पछि फेरि भारदहदेखि वीरगन्जसम्म पदयात्रा गरेका थिए । त्यो बेला गृहमन्त्री, उद्योग मन्त्रीले समस्या निराकरणका लागि पहल गर्ने वचन पनि दिए । तर अहिलेसम्म केही परिणाम नदेखिएको उनी सुनाउँछन् । यो पटक १२ बुँदे मागमा उनीहरूले सिर्सिया खोलाको विषयलाई पनि उठाएका छन् ।
वन संरक्षणमा सरकारी निकायबीच नै समन्वयन हुन नसकेको सुनिल बताउँछन् । सिरहामा एउटा सिमेन्ट उद्योगले चर्चेको जग्गा वन कार्यालयले खारेज गरे पनि मालपोत कार्यालयले त्यसलाई मान्यता नदिएको उनले बताए । ‘यस्ता अनियमितताका विषय अनेकौं छन् सबैको उचित तरिकाले छानबिन होस् । मान्छेलाई चाहिने पानी हो पानीका लागि रुख जोगाऔं, चुरे जोगाऔं । यसो भएमा मधेस मात्रै हैन देश नै जोगिन्छ,’ सुनिलले भने ।
पैदलयात्रामा सहभागी २२ जनामध्ये १३ महिला छन् । काठमाडौंको माइतीघरमा पैदलयात्रा समापन गर्ने र मुख्य दलका केन्द्रीय कार्यालयमा दिनको एक घण्टा धर्नासहित ज्ञापनपत्र बुझाउने सुनिलले बताए । ‘सरकारले तत्काल सुन्छ जस्तो त लाग्दैन । तर हामी हार मान्नेवाला पनि छैनौं । समाज र देशका लागि राम्रो होस भनेर सरकारसँग मागेको कुरा हो,’ काठमाडौंतर्फ बाटो लाग्दै गर्दा शान्तिदेवी सुनाइन् । अबको चार दिनभित्र काठमाडौं पुग्ने उनीहरूको अनुमान छ ।

Page 10
खेलकुद

दीपक पहिलो र राजपुरा तेस्रोपल्ट च्याम्पियन

- विनोद पाण्डे

(काठमाडौं)
त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा दीपक पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले लगातार तेस्रो जितेर उपाधिमाथि ह्याट्रिक गरिन् ।
कान्तिपुर पब्लिकेशन्स लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा दीपकले
१ घन्टा ७ मिनेट १५ सेकेन्डको टाइमिङ निकाल्दै गत वर्षका विजेता मुकेश पाललाई ४४ सेकेन्डले पछाडि पारेका थिए । आर्मीका मुकेश १ घन्टा ७ मिनेट ५९ सेकेन्डमा दुरी पार गरे ।
गत वर्ष दीपक चोटका कारण यो रेसमा सहभागी भएका थिएनन् । त्यसको अघिल्लो वर्ष उनी उपविजेता भएका थिए । उनले दुई महिनाअघि राइट टु प्रोटिन रन जितेका थिए । १४ महिनाअघि नेपालमा भएको एसियाली क्रसक्रन्ट्री च्याम्पियनसिपमा स्वर्ण जितेयता दीपक घरेलु प्रतियोगितामा छाउँदै आएका छन् ।
‘रन टु इन्स्पायर द योङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथन थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको थियो । दौड थापाथली, माइतीघर मण्डल, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर सोही हुँदै पुनः सेन्ट्रल बिजनेस पार्क आएर टुंगिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको कान्तिपुर हाफ म्याराथनको पुरुषतर्फ शीर्ष ६ स्थानमा आर्मीका चार खेलाडी रहे । पूर्व विजेता एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ८ मिनेट १४ सेकेन्डसहित तेस्रो भए ।
आर्मीका सुशील शाही १ घण्टा ८ मिनेट ४८ सेकेन्डबाट चौथो, किरणसिंह बोगटी १ घण्टा १० मिनेट १८ सेकेन्डबाट पाँचौं र गजेन्द्र राई १ घण्टा १५ मिनेट ४३ सेकेन्डबाट छैटौं भए ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा २०६७ सालदेखि हुँदै आएको कान्तिपुर हाफ म्याराथनमा पुरुष र महिला विजेताले जनही
१ लाख रुपैयाँ पुरस्कार पाएका छन् । दोस्रोदेखि छैटौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाए ।
महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी १ घण्टा १९ मिनेट १६ सेकेन्डबाट विजेता बनेकी थिइन् । यो सफलतासँगै उनले कान्छीमाया कोजुको उपलब्धिलाई पछ्याइरहेकी छन् । कान्छीमायाले कान्तिपुर हाफ म्याराथन पाँच पटक जितेकी थिइन् ।
एपीएफ क्लबकी पुष्पा भण्डारी १ घण्टा २५ मिनेट ३४ सेकेन्डबाट दोस्रो भइन् । केन्याकी ज्याकलिन जेटाउनुई १ घण्टा २६ मिनेट ५४ सेकेन्डबाट तेस्रो भइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २९ मिनेट ६ सेकेन्डसाथ चौथो, अमेरिकाकी क्याटलिन सुल्टेइ १ घण्टा ५१ मिनेट ४५ सेकेन्डसाथ पाँचौं र शर्मिला बस्नेत २ घण्टा ५ मिनेट २३ सेकेन्डसाथ छैटौं भए ।

मिङमार र सुसनलाई कलेज रन
मिङ्मार तामाङ र सुसन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् । सुसनले लगातार दोस्रोपल्ट उपाधि जितिन् ।
पुरुषतर्फ मिङ्मारले २२ मिनेट ०२.९ सेकेन्ड र महिलातर्फ सुसनले २९ मिनेट ५५.८ सेकेन्डमा दौड पूरा गरे । पुरुषतर्फ विश्वराम कुँवर २२ मिनेट ३१.२ सेकेन्ड, रेम बुढामगर २२ मिनेट ५१.८ सेकेन्ड, पुकारजंग बस्नेत २३ मिनेट २५.४ सेकेन्डसाथ चौथो, लोकेन्द्र राई २३ मिनेट ३०.७ सेकेन्डसाथ क्रमशः दोस्रोदेखि पाँचौं भए ।
महिलातर्फ रेजिना दुलाल ३० मिनेट १३.९ सेकेन्डबाट दोस्रो र मन्जु सुनुवार ३१ मिनेट १५.१ सेकेन्डबाट तेस्रो भए । निसम सुब्बा ३२ मिनेट ५१.८ सेकेन्डबाट चौथो र सजिना कार्की ३६ मिनेट १८.२ सेकेन्डबाट पाँचौं भए । कलेज र कर्पोरेट रनको महिला र पुरुषतर्फ शीर्ष ३ का विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाएका थिए ।

भलिबलदेखि रेससम्म
कर्पोरेट रनकी विजेता नेपाली खेलकुदकी परिचित अुनहार थिइन् । तर, उनले त्यो परिचय भलिबलबाट बनाएकी थिइन् । न्यु डायमन्ड हुँदै त्रिभुवन आर्मी क्लब पुगेकी कृपा अधिकारी भलिबलकी राष्ट्रिय खेलाडी हुन् ।
उनी शनिबार कान्तिपुर हाफ म्याराथनका लागि दौडिन तयार हुँदा धेरैले त्यसलाई अनौठो मानेका थिए । उनले दौडमा सहभागी मात्र जनाइनन् । कर्पोरेट रन जितेर धेरैलाई आश्चर्यमा पनि पारिदिइन् ।
आर्मीकी भलिबल कप्तान कृपा २३ मिनेट २५.७ सेकेन्डसहित कर्पोरेट रनमा विजेता बनिन् । विनिता महर्जन २५ मिनेट १०.७ सेकेन्डसाथ दोस्रो भइन् । उनले गत वर्ष पनि दोस्रो स्थानमा दौड टुंग्याएकी थिइन् । सीता रिमाल २६ मिनेट ०४.६ सेकेन्डसाथ तेस्रो, पूर्व विजेता लादेन प्रधान २६ मिनेट २१.६ सेकेन्डसाथ चौथो भए ।
‘यस प्रतियोगितामा पहिला सेनाका सिनियर अधिकृतहरू दौडिने गर्नुभएको थियो, उहाँहरू अहिले शान्तिसेनामा हुनुहुन्छ । यसले मलाई पनि दौडिन प्रेरित गरेको हो,’ सहसेनानी कृपाले भनिन्, ‘म ट्रेनिङका लागि भक्तपुरमा थिएँ । हिजो शुक्रबार घर आएका बेला जाउँ न त भनेर दौडिन आएको हो । धेरैजनाको बीचमा दौडिँदा रमाइलो अनुभव भयो ।’
सानोमा उनी भलिबल प्रशिक्षणका लागि न्यु डायमन्ड पुगेकी थिइन् । शारीरिक हिसाबमा फिट रहन न्यु डायमन्डका
प्रशिक्षक कुमार राईले उनीसहित प्रतिभा मालीलाई मजैले दौडाएका रहेछन् । त्यौ दौड अहिले उनलाई काम लागेको छ । त्यसयता उनी दौड स्पर्धामै पहिलो पटक दौडिएका थिए । ट्रेनिङका लागि भारत जानुपर्ने भएकाले उनी अझै केही समय भलिबलबाट टाढा हुनुपर्ने जनाइन् ।
पुरुषतर्फ विकेश घिमिरे विजेता बने । गत वर्ष पनि उनी विजेता थिए । ५ किमि कर्पोरेट रेस थापाथली, माइतीघर मण्डल, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ती लगाएर पुनः सोही रुट हुँदै सेन्ट्रल बिजनेस पार्कमा आएर टुंगिएको थियो । त्यसमा विकेशले १७ मिनेट १५.४ सेकेन्ड लगाए । अनिल थापा १८ मिनेट ३७.९ सेकेन्डबाट दोस्रो र मदनसिंह भाट १८ मिनेट ५९.७ सेकेन्डबाट तेस्रो भए । उपेन्द्र कठायत २० मिनेट २२.२ सेकेन्डबाट चौथो र विद्यामान महतारा २० मिनेट २८.२ सेकेन्डबाट पाँचौं भए ।

ह्विलचेयरमा रमेश र ऐश्वर्य फेरि च्याम्पियन
रमेश खत्री र ऐश्वर्य कुमाल यस वर्ष पनि ह्विलचेयर रेसतर्फ विजेता बनेका छन् । गत वर्ष यी दुई नै विजेता बनेका थिए । रमेशले भने तेस्रोपल्ट उपाधि जितेका हुन् ।
सेन्ट्रल बिजेनस पार्कबाटै सुरु ह्विलचेयर रेस माइतीघर मण्डल फन्को लगाएर पुनः सोही ठाउँमा आएर टुंगिएको थियो । आर्मीका रमेशले ३ मिनेट १९.९ सेकेन्डमा रेस पूरा गरेका थिए ।
आर्मीका दानबहादुर थिङ ३ मिनेट ४९.७ सेकेन्डबाट दोस्रो, गोकर्णेश्वरका रामकाजी मिजार ४ मिनेट ३६.३ सेकेन्डबाट तेस्रो भए । हेटौंडाका दीपक तिमल्सिना ५ मिनेट ०८.५ सेकेन्डबाट चौथो र मूलपानीका होमबहादुर मगर ५ मिनेट ४०.१ सेकेन्डबाट पाँचौं भए ।
माकलबारीकी ऐश्वर्यले ५ मिनेटमा ३६.५ सेकेन्डमा रेस पूरा गरिन् । पाँच पटककी पूर्व विजेता यामी झाँक्रीमगर ५ मिनेट ३८.८ सेकेन्डबाट दोस्रो भइन् । खोटाङकी रजनी राई ५ मिनेट
४६.५ सेकेन्डबाट तेस्रो, जोरपाटीकी पेमा गुरुङ ६ मिनेट ०६.७
सेकेन्डबाट चौथो र कपनकी मीना मगर ७ मिनेट १४.३ सेकेन्डबाट पाँचौं भए । ह्विलचियर रेसका विजेताले ३० हजार, दोस्रोले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाए ।

खेलकुद

काठमाडौं महानगर विजेता

- कान्तिपुर संवाददाता

(ललितपुर)
काठमाडौं महानगरपालिकाले शनिबार प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
गोदावरी नगरपालिकाको आयोजनामा गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोलले हराएर काठमाडौं महानगरले उपाधि उचाल्यो । काठमाडौंबाट अखिलेश कार्की र दीपेश श्रेष्ठले १–१ गोल गरे । काठमाडौंले ५ लाख र चन्द्रागिरिले ३ लाख रुपैयाँ
पुरस्कार जितेका थिए । फाइनलमा म्यान अफ द म्याच काठमाडौंका अखिलेश भए ।
सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । फेयर प्ले ट्रफीसहित महालक्ष्मी नगरपालिकाले ५० हजार पायो । सर्वाधिक गोलकर्ता कीर्तिपुरका यमन मर्हजन भए । उनले ६ गोल गरेका थिए । इमर्जिङ प्लेयर गोदावरी बी टिमका पासाङ तामाङ भए । उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी चुनिए । उत्कृष्ट डिफेन्डर चन्द्रागिरिका साहिल राना र उत्कृष्ट प्रशिक्षक काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने भए । विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पाए ।

खेलकुद

सुदूरलाई फेरि रोक्दै एपीएफ च्याम्पियन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कविता जोशी र लक्ष्मी साउदको साहसलाई पन्छाउँदै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता जितेको छ । उनीहरूले ८० बलमा छैटौं विकेटका लागि १ सय ४ रनको साझेदारी गरे पनि एपीएफले शनिबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई २ रनले हरायो ।
एपीएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर २० ओभरमा ४ विकेट गुमाई १ सय ५५ रन बनायो । जवाफमा सुदूरपश्चिमले ५ विकेट गुमाई १ सय ५३ रनमात्र बनाउन सक्यो । एपीएफले प्रतियोगिताको चारै संस्करण अपराजित रहेर जितेको हो । टोलीले सुदूरपश्चिमलाई नै तीन पटक फाइनलमा हराएको छ ।
सुदूरपश्चिमले सातौं ओभरमा खेल पुग्दा ४९ रनमा ५ विकेट गुमाइसकेको थियो । कविता र लक्ष्मीले अविश्वनीय रूपमा सुदूरलाई जित नजिक पुर्‍याएका थिए । कविताले १९ औं ओभरमा राजमति ऐरीलाई ३ छक्कासहित २१ रन प्रहार गरेपछि सुदूरपश्चिमलाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो । तर। रेखा रावलले अन्तिम ओभरमा ३ रनमात्र खर्चेर एपीएफलाई विजेता बनाइन् ।
कविताले ४५ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गर्दै ६७ रन बनाई अविजित रहिन् । लक्ष्मीले ३५ बल खेल्दै २ चौकासहित २९ रन बनाइन् । रुबि पोदार ५, सावित्री धामी १२, सम्झना खड्का १०, कप्तान विन्दु रावल १९ र रितु कनोजिया शून्यमा आउट भए । एपीएफकी करुणा भण्डारीले ४ ओभरमा २० रन खर्चेर २ र सुमन विष्टले १ विकेट लिए ।
यसअघि एपीएफबाट कप्तान सीता रानामगर र राजमतिले अर्धशतक बनाए । उनीहरूले १३ ओभरमा ९१ रनको साझेदारी गरे । प्लेयर अफ द फाइनल सीताले ५५ बलमा ८ चौकासहित ७४ रन बनाइन् । राजमतिले ४६ बलमा ७ चौकासहित ५० रन बनाइन् । इन्दु बर्मा ९, रोमा थापा ६ रनमा आउट भए । ममता चौधरी १० र सरिता मगर १ रनमा अविजित रहे । सुदूरपश्चिमकी रितु, विन्दु र राधिका पुजाराले १–१ विकेट लिए ।
सुदूरपश्चिमकी सम्झना खड्का उत्कृष्ट ब्याटर र ललितपुर मेयर्स ११ की कृतिका मरासिनी उत्कृष्ट बलर चुनिए । सम्झनाले ५ खेलमा सर्वाधिक १ सय ५६ र कृतिकाले ४ खेलमा सर्वाधिक ११ विकेट लिएका थिए । १ सय ४२ रन बनाउनुका साथै ४ विकेट लिएकी एपीएफकी सीता प्लेयर अफ द सिरिजमा चुनिइन् ।