You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
समाचार

प्रधानन्यायाधीशले न्याय परिषद् बैठक नै बोलाएनन्, न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाती

जेठ मसान्तसम्म सर्वोच्च अदालतमा २७ हजार मुद्दा, पाँच वर्ष नाघेका मुद्दा १ हजार ४ सय ४२, मुद्दा बेलैमा टुंग्याउनका लागि अविलम्ब न्यायाधीश नियुक्ति गर्न नेपाल बारको सुझाव।
- दुर्गा दुलाल

सर्वोच्च अदालतमा मंगलबार ४ सय ६३ मुद्दाको पेसी तोकिएको थियो । तर १ सय ३१ मुद्दामा मात्र फैसला र आदेश भयो, अन्य मुद्दा विभिन्न कारणले सरे । ‘हेर्न नभ्याइने’ मा परेका मुद्दाको संख्या मात्र १ सय ९३ थियो । 

सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेसी सरेको यो पहिलो पटक भने होइन, हरेक दिन यस्तै हुन्छ । अधिकांश मुद्दाको पेसी सर्नुका विभिन्न कारण छन्, एउटा हो– न्यायाधीश अभाव । प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले १८ जना मात्रै बहाल छन् । त्यसमध्ये न्यायाधीश तिलप्रसाद श्रेष्ठ अस्वस्थताका कारण तीन महिनादेखि बिदामा छन् । 

न्यायाधीश अभावका कारण मुद्दा सुनुवाइमा भइरहेको ढिलाइबारे प्रधानन्यायाधीश मनोजकुमार शर्मा जानकार छन् । त्यसैले प्रधानन्यायाधीशमा सिफारिस भएपछि गत ५ जेठमा भएको संसदीय सुनुवाइका क्रममा उनले अदालतमा पद रिक्त हुनुअघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गरेका थिए । त्यही दिन संसदीय सुनुवाइबाट अनुमोदन भएर उनले प्रधानन्यायाधीशमा नियुक्ति पाएको एक महिना नाघिसकेको छ । तर न्यायाधीश नियुक्ति प्रक्रिया सुरु भएको छैन । 

न्याय परिषद् ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा ‘न्याय परिषद्ले उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अगाडि नियुक्तिका लागि सिफारिस गर्नेछ’ भनिएको छ । उपदफा (२) मा ‘उमेरको हदबाट अवकाश भएकोमा बाहेक अन्य कारणबाट सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त हुन आएमा न्याय परिषद्ले त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र नियुक्तिका लागि सिफारिस गर्ने’ उल्लेख छ ।

उपदफा (३) मा उच्च अदालतबाट मुख्य न्यायाधीश र न्यायाधीश रिक्त भएको तीन महिनाभित्र नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । न्यायाधीश नियुक्तिको सिफारिस गर्ने न्याय परिषद्को नेतृत्व संविधानतः प्रधानन्यायाधीशले गर्छन् । न्याय परिषद्मा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानुनमन्त्री सोविता गौतमका साथै महेशकुमार नेपाल (प्रधानमन्त्रीको सिफारिसमा नियुक्त) र दामोदर खड्का (नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त) सदस्य छन् । न्याय परिषद्को बैठक प्रधानन्यायाधीशले बोलाउने अभ्यास छ । शर्मा प्रधानन्यायाधीश भएपछि परिषद्को बैठक बसेकै छैन ।

न्याय परिषद्ले यसअघि २७ जेठ २०८२ मा सर्वोच्च अदालतमा मेघराज पोखरेललाई सिफारिस गरेको थियो । उनको नियुक्तिपछि पनि एक पद रिक्त थियो । त्यसयता प्रकाशमानसिंह राउत र कुमार चुँडालले अवकाश पाएका छन् । चुँडाल ९ कात्तिक २०८२ र राउत १८ चैत २०८२ मा अवकाशमा गएका हुन् । उच्च अदालतमा मुख्य न्यायाधीश र न्यायाधीश गरेर पाँच पद रिक्त छ । उच्च अदालतको मुख्य न्यायाधीश पदमा पनि अन्तिम पटक २७ जेठ २०८२ मै सिफारिस गरिएको थियो । त्यतिबेला न्याय परिषद्ले श्रीकान्त पौडेल (जनकपुर) र शान्तिसिंह थापा (दिपायल) लाई सिफारिस गरेको थियो । 

न्याय परिषद्का कार्यवाहक सचिव रामप्रसाद भण्डारीका अनुसार न्याय परिषद्को बैठक तत्काल बस्ने गरी कुनै समय निर्धारण भएको छैन । तर परिषद्का एक सदस्य भने प्रधानन्यायाधीश शर्माले परिषद्को बैठक नै डाक्न नसकेको बताए । ‘बैठक बस्न नसक्नुको मुख्य कारण प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीशबीचको समस्या हो,’ उनले कान्तिपुरसँग भने । 

संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेलगत्तै सर्वोच्चका वरिष्ठ न्यायाधीशहरूले फुलकोर्टमै असन्तुष्टि जनाएका थिए । न्यायालयको परम्परा मिचिएको र कार्यपालिकाको हस्तक्षेप भएको उनीहरूको भनाइ थियो । ‘त्यसबीचमा शर्मालाई अप्ठ्यारो पर्ने रिट नै दर्ता नगराउनेसम्मको काम गरिएको भन्ने असन्तुष्टि पनि देखिन्छ । यसले गर्दा पनि परिषद्को बैठक नबोलाइएको हुन सक्छ,’ ती सदस्यले भने । 

प्रधानन्यायाधीशमा शर्माको नियुक्तिपछि वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा बसेकी थिइन् । त्यसपछि केही दिन इजलासमा बसेर फेरि बिदामा बसिन् । ‘सोमबारदेखि वरिष्ठतम न्यायाधीशले इजलास लिनुभएको छ । अब केही दिनमा परिषद् पनि बोलाउनेबारे छलफल होला नि ?’ ती सदस्यले भने । 

जेठ मसान्तसम्म सर्वोच्च अदालतमा २७ हजार ७ सय ३९ मुद्दा छन् । तिनमा दुई वर्ष नाघेका १० हजार २ सय ३४ र पाँच वर्ष नाघेका १ हजार ४ सय ४२ थान छन् । यी मुद्दा समयमा छिन्नका लागि पनि अविलम्ब न्यायाधीश नियुक्ति हुनुपर्ने नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र बताउँछन् । ‘समयमा न्यायाधीश नियुक्ति नहुने न्यायालयको पुरानै समस्या हो । नेतृत्वमा शर्मा आएपछि पनि यो प्रवृत्तिले निरन्तरता पाइरहेको छ,’ उनले भने ।

सर्वोच्चले दरबन्दीअनुसार न्यायाधीश पाउन नसकेको साढे तीन वर्ष भएको छ । दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दा सुनुवाइ प्रभावित हुने गरेको छ । त्यसो त प्रधानन्यायाधीश नियुक्ति पनि संविधानबमोजिम बेलैमा हुन सकेको छैन । संविधानको धारा २८४ (३) मा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ । तर प्रधानन्यायाधीश शर्माले नै पद रिक्त भएको डेढ महिनापछि मात्र नियुक्ति पाएका थिए । 

प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषद्बाटै संविधान र कानुनको पालना नभएको भन्दै सर्वोच्च अदालतले विभिन्न समयमा परमादेश जारी पनि गरेको छ । पछिल्लो पटक गत १८ जेठमा सर्वोच्च अदालतले न्यायाधीश नियुक्तिसम्बन्धी संविधान र कानुनी व्यवस्थाको पालना गर्न न्याय परिषद्का नाममा परमादेश जारी गरेको थियो । न्यायाधीश हरिप्रसाद फुयाल र विनोद शर्माको संयुक्त इजलासले प्रधानन्यायाधीश शर्मा अध्यक्ष तथा वरिष्ठतम न्यायाधीश मल्ल सदस्य रहेको परिषद्का नाममा यस्तो परमादेश जारी गरेको थियो । यो आदेश आएको पनि एक महिना पुग्नै लागेको छ ।

अधिवक्ता दीपकविक्रम मिश्रले दायर गरेको एक रिटमा संयुक्त इजलासले सर्वोच्च अदालतका हकमा एक महिनाअघि र उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशका हकमा तीन महिनाभित्र नियुक्ति गर्नुपर्ने न्याय परिषद् ऐनको दफा ४ को पालना नभएको भन्दै यस्तो आदेश गरेको हो । ‘सर्वोच्चलगायतका अदालतमा मुद्दाको चाप बढेको, न्याय सम्पादन कार्यमा ढिलाइ हुन गएको भन्नेसमेतको महत्त्वपूर्ण तथ्य उठान गरिएको हुँदा अवकाशको कारणबाट वा अन्य कारणबाट सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश तथा मातहत अदालतका न्यायाधीशहरूको पद रिक्त भएको अवस्थामा कानुनले तोकेको प्रक्रिया पूरा गरी समयसीमाभित्र नियुक्ति गर्नु भनी न्याय परिषद् सचिवालयलगायतका विपक्षीका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ ।

सर्वोच्चले न्याय परिषद् ऐनको दफा ४ स्मरण गराएको छ । ‘ऐनको दफा ४ को उपदफा (१) ले सर्वोच्चमा एक महिना र उपदफा (३) ले उच्च अदालतको हकमा तीन महिनाभित्र भनी समय तोकेको देखिन्छ,’ आदेशमा भनिएको छ, ‘समयमै न्यायाधीश नियुक्ति गर्नुपर्ने जिम्मेवारी पूरा गर्न न्याय परिषद् ऐनले न्यायाधीश हुन योग्य भएका व्यक्तिहरूको अभिलेख तयारी गर्नका लागि सरोकार रहेका निकायसँग समन्वय गरी विवरण संकलन गर्ने, नियुक्तिमा इच्छुक व्यक्तिहरूलाई सूचित हुन सूचना प्रकाशित गर्ने र प्राप्त भएका व्यक्तिहरूको विवरण राख्ने जिम्मेवारी परिषद्लाई कानुनले दिएको अवस्थामा सो व्यवस्थालाई वस्तुनिष्ठ एवं पारदर्शी रूपमा कार्यान्वयन गर्नु परिषद्का पदाधिकारीहरूको बाध्यात्मक दायित्वभित्र पर्ने देखिन्छ ।’

समाचार

प्रदेशको बजेटमा सत्तापक्षकै ‘अवरोध’, गम्भीर त्रुटि भएको भन्दै पारित हुन नदिने अडान

दुई साता बितिसक्दा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशीमा बहस नै सुरु हुन सकेन, बागमतीमा छलफल जारी, मधेशमा बैठक बस्दै, गण्डकीमा बहुमतले पारित।
- कान्तिपुर संवाददाता

प्रदेश सरकारले २०८३/०८४ का लागि प्रस्तुत गरेका बजेट तथा कार्यक्रमलाई लिएर सत्तापक्षीय सांसदकै असन्तुष्टिले प्रदेशसभा नै ‘बन्धक’ बनेका छन् । असार १ मा बजेट सार्वजनिक गरेलगत्तै बजेटमाथि छलफल गर्ने परम्पराविपरीत दुई साता बितिसक्दा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा बजेटमाथिको बहस नै सुरु हुन सकेको छैन । 

यी चारै प्रदेशमा सत्तापक्षकै सांसदको अवरोध देखिएको छ । मंगलबारसम्म पनि यी प्रदेशमा बजेटमाथि छलफल कहिले सुरु हुने भन्नेबारे टुंगो छैन । मधेश प्रदेशमा भने बुधबारदेखि बजेटमाथि छलफल थाल्ने तयारी छ । बागमतीमा आगामी वर्षको बजेटबारे छलफल जारी छ । गण्डकीको बजेट भने बहुमतले पारित भएको छ । बागमती सरकारले २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट पेस गरेको थियो । बजेटलाई लिएर सत्ता साझेदार दलबीच नै सहमति नहुँदा सुदूरपश्चिममा प्रदेशसभा परिसर दुई सातादेखि सुनसान छ । कांग्रेस नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार हो । एमालेले आफैं संलग्न भएर ल्याएको बजेट अस्वीकार गरेर संशोधन प्रस्ताव दर्ता गर्ने अडान लिएपछि छलफल अनिश्चित भएको छ । एमालेले बजेटमा संशोधन गर्नुपर्ने माग गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहसमेत अलमलमा छन् । 

मुख्यमन्त्री शाह बजेटमा प्राविधिक त्रुटि रहेको स्विकार्छन् । ती त्रुटिलाई कसरी सुधार गर्ने भन्ने विषयमा एमाले नेतासँग आन्तरिक छलफल भइरहेको उनको भनाइ छ । एमाले सांसदका अनुसार मुख्यमन्त्री र एमाले सांसदबीच यस सम्बन्धमा संवाद भएको छैन । ‘छलफलका लागि अझै समय छ,’ उनले भने, ‘असारभित्रै पारित गर्छौं ।’

एमाले संसदीय दलकी उपनेता सन्तोषकुमारी शर्मा थापाले प्रदेशसभा बैठक र बजेटमाथिको छलफलबारे कुनै पहल नभएको बताइन् । ‘बजेटप्रति सर्वत्र असन्तुष्टि छ,’ उनले भनिन्, ‘हाम्रो दलका नेता पनि यतिबेला काठमाडौंतिर हुनुहुन्छ ।’ 

असार सुरु भएसँगै प्रदेशसभाका विषयगत समितिका सांसद विभिन्न भ्रमणमा छन् । प्रदेशसभा सचिवालयका अनुसार सामाजिक विकास समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समितिका सांसद प्रदेश बाहिर भ्रमणमा रहेको सचिवालयले जनाएको छ । सार्वजनिक लेखा समितिले भ्रमणको तयारी गरिरहेको छ । 

‘बैठक सञ्चालनको तयारी छैन,’ प्रदेशसभा सचिव देवबहादुर बोगटीले भने, ‘सत्तारूढ दलबीच नै कुरा मिलेको छैन ।’ एमाले संसदीय दलले बजेटमा कांग्रेसले एकलौटी गरेको आरोप लगाउँदै विमति जनाएर संशोधनको माग अघि सारेको हो । मन्त्रिपरिषद्मा एमालेले भौतिक पूर्वाधार, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व गरेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित आर्थिक मामिला, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व गरेको छ । 

बजेट निर्माणका क्रममा पनि भागबण्डामा असन्तुष्टि जनाउँदै एमालेले सरकारबाट बाहिरिने तयारी गरेको थियो । तर, अन्तिममा एमाले सहमत भएपछि कांग्रेसबाट प्रतिनिधित्व गरेका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले असार १ को मध्यराति प्रदेशसभामा बजेट पेस गरेका थिए ।

अपूरो बजेट प्रस्तुत गरेको, विनियोजन विधेयकका सिद्धान्तविपरीत रहेको, मन्त्रालयगत विनियोजन नराखिएको, योजना छनोट मापदण्ड उल्लंघन गरिएको भन्दै एमालेले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । मन्त्री धामीले कुल ३७ अर्ब ७० करोडको बजेट ल्याएको उल्लेख गरे पनि एक दिनपछि मात्र सार्वजनिक गरिएको बजेट वक्तव्य पुस्तिकामा ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार उल्लेख छ । सरकारले बजेट प्रस्तुत गर्ने दिन प्रदेशसभा सचिवालयमा पेस गर्नुपर्ने विनियोजन ऐन, आर्थिक ऐन, बजेट वक्तव्य, व्यय अुनमान, मध्यमकालीन खर्च संरचना हालसम्म प्रदेशसभामा टेबुल नगरेको विपक्षी दल नेकपाका सांसदले दाबी गरेका छन् । 

अर्कोतिर वाम दलबीच सत्ता गठबन्धन निर्माण हुने चर्चा भइरहेको छ । एमाले–कांग्रेस गठबन्धनको सरकारबाट बाहिरिएर नेकपासँग नयाँ समझदारीमार्फत सरकार गठन गर्ने विषयमा छलफल भइरहेको छ । ‘विभिन्न चरणमा अनौपचारिक छलफल चलिरहेका छन्,’ नेकपा संसदीय दलका नेता खगराज भट्टले भने, ‘सरकारले ल्याएको बजेटका आधारभूत सिद्धान्तसमेत मिचेर बेथितिपूर्ण कार्यक्रम तथा बजेट राखिएकाले पारित हुनै नदिने गरी डटेर विरोध गर्ने निर्णय गरिसकेका छौं ।’

बजेटमाथिको छलफल सञ्चालन हुन नसके सरकारमाथि नैतिक प्रश्न उठ्ने देखिन्छ । यसअघि आर्थिक वर्ष ०८१/८२ को बजेट ल्याउँदा तत्कालीन माओवादी, एमाले, एकीकृत समाजवादीको संयुक्त सरकार थियो । त्यति बेला आर्थिक मामिलामन्त्री एमालेका सुरेन्द्रबहादुर पालले प्रदेशसभामा बजेट पेस गरेका थिए तर बजेट पारित नहुँदै एमालेले समर्थन फिर्ता लिएपछि सरकार ढलेको थियो । बजेटलाई लिएर कोशी प्रदेशमा सत्तारूढ दलभित्र चर्किएको असन्तुष्टिले संसदीय अभ्यासमाथि प्रश्न उठाएको छ ।

आफ्नै सरकारले प्रस्तुत गरेको बजेटप्रति सत्तापक्षकै सांसदले विरोध जनाएर संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि कोशी प्रदेशको राजनीतिक वृत्त पनि तरंगित छ । यही असन्तुष्टिले बिहीबार प्रदेशसभा बैठक स्थगित भएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेपछि सत्तारूढ कांग्रेस र एमालेका सांसदले बजेट असन्तुलित, पहुँचमुखी र निश्चित क्षेत्र तथा व्यक्तिलाई केन्द्रित गरिएको आरोप लगाउँदै आएका छन् । उनीहरूले ‘सन्तुलन मिलाउन’ दबाब दिइरहेका छन् । 

संसदीय प्रणालीमा एक पटक संसद्मा पेस भइसकेको बजेट संशोधन गर्न सकिने वा नसकिने विषयमा बहस तीव्र छ । संसदीय मामिलाका जानकारका अनुसार बजेट संसद्को सम्पत्ति बनिसकेपछि त्यसलाई मूल रूपमा संशोधन गर्ने अभ्यास छैन । बजेट पारित वा अस्वीकृत हुने मात्र व्यवस्था छ । पूर्वमन्त्री तथा एमाले सांसद रेवतीरमण भण्डारीले संसद्बाट बजेट संशोधन सम्भव नभए पनि मन्त्रिपरिषद्को निर्णयमार्फत केही योजनाहरू रद्द गरी वित्तीय हस्तान्तरणमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गर्न सकिने बताए । उनका अनुसार विगतमा पनि यस्तै अभ्यास हुँदै आएको छ । 

‘बजेट संशोधन अब सम्भव छैन, तर मन्त्रिपरिषद्ले आवश्यक ठाने केही योजना रद्द गरेर सञ्चित कोषमा रकम फिर्ता पठाउन सक्छ र त्यसलाई वित्तीय हस्तान्तरणमार्फत पुनः वितरण गर्न सकिन्छ,’ भण्डारीले भने । बजेटप्रति असन्तुष्ट सांसदले भने आफूहरू सरकार ढाल्ने पक्षमा नभई बजेटलाई सन्तुलित बनाउन खोजिरहेको दाबी गरेका छन् । 

कांग्रेस सांसद तथा अर्थ समिति सभापति विनोद वान्तवा राईले बजेट निर्माण प्रक्रियामै गम्भीर त्रुटि भएको आरोप लगाउँदै समावेशी र सन्तुलित बजेट आवश्यक रहेको बताए । सत्तारूढ सांसदले बजेटप्रति असन्तुष्टि जनाउँदै हस्ताक्षर अभियानसमेत चलाएका छन् । कांग्रेस उपनेता हिमाल कार्कीले २७ जना सांसदले हस्ताक्षर गरिसकेको दाबी गरेका छन् । 

तर, सरकार पक्षका मन्त्री भने बजेटविरुद्ध आफ्नै दलका सांसद उभिनु संसदीय मूल्य–मान्यताविपरीत भएको तर्क गर्छन् । उनीहरूका अनुसार बजेट जस्तो संवेदनशील विषयमा दलीय ह्वीप उल्लंघन गर्ने अवस्था आए त्यसले राजनीतिक संकट निम्त्याउन सक्छ । विपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले पनि बजेट संशोधन सहज विषय नभएको बताउँदै वित्तीय हस्तान्तरणमार्फत असन्तुष्ट पक्षलाई सम्बोधन गर्न सकिने धारणा राखेका छन् ।

लुम्बिनीमा बैठक अनिश्चित

लुम्बिनीमा बजेटमाथिको छलफल अनिश्चित बनेको छ । बुधबारदेखि बजेटमाथि छलफल सुरु गर्ने सम्भावित कार्यसूची तय गरिएको थियो । तर, मंगलबार अन्तिम समयमा पुनः स्थगित गरियो । प्रदेशसभा सचिवालयले सरकारसँगको छलफलपछि बुधबार आठौं अधिवेशनको ११ औं बैठक आह्वान गर्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सम्भावित कार्यसूची तय गरेको थियो । 

तर, मुख्यमन्त्री चेतनारायण आचार्यकै दल एमालेका असन्तुष्ट प्रदेशसभा सदस्यले बजेटमाथिको छलफलमा सहभागी नहुने र बैठकमा विरोध गर्ने अडान नछोडेपछि बुधबारका लागि तय भएको बैठक फेरि अनिश्चित बनेको हो । बजेटमा गम्भीर त्रुटि भएको भन्दै सत्तापक्ष एमालेकै प्रदेशसभा सदस्यले बजेट पास हुन नदिने अडान लिँदै आएका छन् । 

सत्तापक्षकै प्रदेशसभा सदस्यले बजेटमाथि छलफल हुन नदिएपछि असार ११ मा सभामुख तुलाराम घर्तीमगरले अर्को सूचना नभएसम्मका लागि भन्दै प्रदेशसभाको बैठक स्थगित गरेका थिए । बजेटमा असन्तुष्ट कांग्रेसका प्रदेशसभा सदस्य संसदीय दलको बैठकमा बजेटमा देखिएको कमजोरी स्वीकार गर्दै छलफल गरेर बजेट पारित गर्ने निर्णयमा सहमत भएका छन् । कांग्रेसले निर्णय गरेपछि सरकारको अनुरोधमा सभामुख घर्तीले प्रदेशसभाको आठौं अधिवेशनको ११ औं बैठक बुधबार १ बजेका लागि आह्वान गरेका थिए । तर, त्यो पनि स्थगित भएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । 

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारका लागि आह्वान भएको बैठकमा प्रदेश आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले पेस गरेको सरकारको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल हुने र छलफलमा उठेको प्रश्नको आर्थिक मामिलामन्त्री कार्कीले जवाफ दिने, विनियोजन विधेयक पेस गर्ने र सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारू समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ लाई समितिमा पठाउने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको सचिव पुनले बताए । 

‘तर, बैठक स्थगितको सूचना दिइएको छ,’ उनले भने, ‘अबको बैठकको टुंगो बिहीबार या शुक्रबार लाग्छ होला ।’ यसअघि असार ८ देखि ११ सम्म निरन्तर आह्वान भएका बैठक स्थगित हुँदै आएका थिए । 

लुम्बिनी प्रदेश सरकारले असार १ मा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक गरेको थियो । सरकारको बजेटमा लुम्बिनीका ५२ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यका लागि ४ करोड र समानुपातिक प्रदेशसभा सदस्यका लागि २ करोडका दरले बजेट सिलिङ उपलब्ध गराएर योजना माग गरिएको थियो । 

बर्दियाबाट निर्वाचित नेकपाकी सांसद नरमाया ढकालले २ करोडका ११ वटा योजना पेस गरेकामा भौतिक पूर्वाधारतर्फका १० लाखका झन्डै १ करोडका योजना मात्र समावेश भएको अन्य छुटेको बताइन् । उनका अनुसार प्रदेशको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाकै ४ करोडका योजनामध्ये २० लाखको एउटा योजना मात्र समावेश भएर ३ करोड ८० लाखको योजना छुटेका छन् । 

त्यस्तै बर्दियाकै राजकुमार चौधरी, भवनेश्वर चौधरीका पनि धेरै योजना छुटेका छन् । जनमोर्चाकी तारा थापाले २ करोड बजेटको सिलिङबाट भौतिक पूर्वाधार विकासका लागि बर्दियाको ठेगानामा राखेको २० लाख रुपैयाँको योजना पनि छुटेको छ । मन्त्रीले प्राविधिक त्रुटिले छुटेको बताए पनि नियोजित रूपमा एउटै जिल्लाका धेरै योजना छुटाएको आरोप लगाइन् । बजेटका कमजोरी स्विकार्दैर् सच्याएर अघि बढ्ने गरी आर्थिक मामिलामन्त्री कार्की र मुख्यमन्त्री आचार्यले असन्तुष्ट एमालेका प्रदेशसभा सदस्यसँग छलफल गरिरहेका छन् । 

सोमबार संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि मंगलबार संसदीय दलको बोर्ड बैठक राखेर समाधानको प्रयास गरिएको एमालेकी प्रमुख सचेतक युमना रोकाले बताइन् । एमाले प्रदेशसभा सदस्यको तर्फबाट वसन्ती न्यौपानेले असन्तुष्ट सदस्यको नेतृत्व गर्दै आएकी थिइन् । संसदीय दलको बोर्ड बैठक पनि बिनानिष्कर्ष टुंगिएको एमाले प्रदेशसभा सदस्य दिनेश पन्थीले बताए । बैठकमा मुख्यमन्त्री आचार्यले बजेट पारित गर्नुको विकल्प नभएको निर्देशन गरेर बाहिरिएका थिए । नेकपा सांसद इन्द्रजित थारूले प्रदेशको आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकतासँग मेल नखाने गरी असन्तुलित बजेट आएको हुँदा सच्याएर पुनर्लेखन गर्नुपर्ने अधिकांशले माग गरिरहेको बताए । 

मधेशमा १७ दिनपछि ‘छलफल’ थाल्ने तयारी 

मधेश सरकारले बजेट सार्वजनिक गरेको १७ दिनपछि बुधबारबाट प्रदेशसभामा छलफल थाल्ने तयारी छ । प्रदेशसभा सचिवालयले बुधबार दिउँसो प्रदेशसभाको बैठक आह्वान गरेको छ । प्रदेश सरकारले ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज भट्टराईले असार १ मा बसेको प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको आय–व्यय प्रस्तुत गरेका थिए । 

त्यसै दिन बसेको प्रदेशसभाको बैठकमा अर्थमन्त्री भट्टराईले आर्थिक वर्ष ०८३–०८४ को राजस्व तथा आयको अनुमानित बजेट सभामा टेबल गरेका थिए भने आर्थिक विधेयक पेस गरेका थिए । मधेश प्रदेशका सभामुख रामआशिष यादवले राजस्व तथा आयको अनुमानित बजेट ‘पिजन होल’ वा ‘वेबसाइट’ बाट प्राप्त गर्न अनुरोध गर्दै स्थगित गरिएको प्रदेशसभाको अर्को बैठक बुधबारका लागि बोलाइएको छ । 

प्रदेशसभा सचिवालयले असार १२ दिउँसो बैठक बोलाइएको भन्दै बजेटमाथि छलफल गर्न एसएमएस पठाएको थियो । लगत्तै अर्को एसएमएस पठाउँदै सचिवालयले बैठक असार १३ शनिबार १ बजे बस्ने जानकारी गरायो । प्रदेशसभा सचिवालयका अनुसार सरकारले दिएको बिजनेसअनुसारै असार १२ र पछि १३ मा प्रदेशसभाको बैठक डाकिए पनि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको थियो । 

प्रदेशसभा सदस्यलाई आर्थिक वर्ष ०८३–०८४ को रातो किताब (मन्त्रालयगत विकास योजना र बजेट) ‘ह्वाट्सअप’ मा उपलब्ध गराइएको छ । मधेश प्रदेशका अर्थमन्त्री भट्टराईले सांसदहरू अन्तरप्रदेश भ्रमण र आ–आफ्नो पार्टीको गतिविधिमा सक्रिय रहेकाले समयमै बजेटमाथि छलफल गर्न नसकिएको बताए । 

‘ढिलै भए पनि प्रदेशसभाको बैठकमा बजेटमाथि छलफल प्रारम्भ हुँदै छ,’ उनले भने, ‘हामीले असार ४–५ देखि नै बजेटमाथि छलफल होस् भन्ने चाहेका थियौं, तर यस बीचमा सांसदको व्यस्तता रहेकाले ढिलो भएको हो ।’ 

जसपा नेपालका सांसद उपेन्द्र महतोले सरकारले कमजोरी र गल्ती ढाकछोप गर्न जानाजान बजेटमाथिको छलफलमा ढिलाइ गरिरहेको आरोप लगाए । ‘जति छिटो छलफल हुन्थ्यो, मन्त्रालयगत योजना र बजेटमाथि त्यति धेरै सवाल–जवाफ गरिन्थ्यो,’ उनले भने, ‘अब एकमुष्ट र हतारमा छलफल गरेर बजेट पास गर्ने सरकारको मनसाय देखिएको छ । मन्त्रालयगत बजेटमा थुप्रै त्रृटि र बदमासी देखिन्छ । सबैमा विस्तारले छलफल हुनुपर्छ ।’

बजेट अलपत्र, प्रत्यारोपमै सकिन्छ कर्णाली संसद् बैठक 

गत बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपाले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो । बजेटमा जथाभावी योजना छनोट गरिएको भन्दै नेकपाले संसद् बैठक अवरुद्ध गरेको थियो । त्यसयता पनि संसद् बैठक अवरुद्ध हुँदै, बस्दै आएको छ । प्रतिपक्षी दलको विरोधपछि मंगलबार पनि प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार बजेट पारित गर्ने प्रदेशसभा सचिवालयको योजना थियो । 

कर्णाली सरकारले ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । अब बुधबार १ बजेदेखि बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । ‘प्रतिपक्षीको विरोधै विरोधका कारण बजेटमाथिको छलफल प्रभावित भइरहेको छ,’ प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्रबहादुर कार्कीले भने, ‘स्थगित हुने र सुचारु हुने क्रम चलिरहेको छ, तर मंगलबार पनि सहमतिको प्रयास हुन सकेन ।’ उनका अनुसार मन्त्रालयगत बजेटमाथिको बजेटबारे छलफल हुन सकेको छैन । 

असार १ मा बजेट ल्याएयता कर्णाली प्रदेशसभाको बैठक ५ दिन मात्र बसेको छ । प्रवक्ता कार्कीका अनुसार असार ४ र ५ मा बैठक बसे पनि छलफल खासै हुन सकेन । त्यसयता १२, १३ र १४ पनि बैठक बस्यो । तर प्रतिपक्षीको विरोधमै बैठक सकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

कर्णाली प्रदेशसभामा बजेटकै बेला बर्सेनि सत्तापक्ष र प्रतिपक्षबीच मनमुटाव हुने गरेको छ । गत वर्ष प्रतिपक्षी दलको विरोधकै बीच बहुमतले बजेट पास गरेको थियो भने अघिल्लो वर्ष प्रतिपक्षी दलको नाराबाजीमै बजेट प्रस्तुत र पारित गरिएको थियो । ‘जो सत्तामा भए पनि र जो विपक्षीमा भए पनि सधैं यस्तै तरिकाले बजेट पारित भइरहेको छ,’ अधिवक्ता दुर्गाप्रसाद सापकोटा भन्छन्, ‘यो समय बजेट तथा विनियोजन र आर्थिक विधेयकमाथि गम्भीर छलफल भएर सर्वसम्मतिले पारित गर्नुपर्ने हो ।’ उनले बजेटका बेला हुने संसदीय किचलोका कारण पनि बजेट कार्यान्वयनमा समस्या भएको बताए । 

नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले विपक्षीलाई पेलेरै अघि बढ्ने र गलत कुरा पनि बहुमतका आडमा पारित गर्न खोजिएकाले सत्तापक्षसँग आफूहरू असहमत भएको बताए । एमालेका प्रमुख सचेतक टेकराज पछाईंले विपक्षी दलले जथाभावी बखेडा खोजिरहेको आरोप लगाए । ‘आफू सत्तामा हुँदा सबै सही तर अरू हुँदा सबै गलत भन्ने विपक्षीको मनसाय देखियो,’ उनले भने, ‘हामीले सहमतिमै बजेट पारित गर्न खोजेको हो, तर विपक्षीका कारण समस्या भयो ।’ 

गण्डकीमा बहुमतले पारित

गण्डकी प्रदेशसभाले २०८३/८४ का लागि सरकारले ल्याएको ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट बहुमतले पारित गरेको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले १ असारमा प्रस्तुत गरेको विनियोजन र अर्थ विधेयकमाथि लामो छलफल र मन्त्रालयगत जवाफपछि आइतबार बजेट पारित भएको हो । 

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, आर्थिक मामिलामन्त्री शेरचन र भौतिक पूर्वाधारमन्त्री गोविन्दबहादुर नेपालीले दिएका थिए । मुख्यमन्त्री पाण्डेले संघीय सरकारको निर्णयअनुसार आगामी वर्षदेखि प्रदेशका करार कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन करिब १ अर्ब रुपैयाँ थप बजेट व्यवस्था गरिएको जानकारी दिए । बैठकमा नेकपा सांसद दमयन्ती रुचाल र कुसुम बुढाको खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

कुल बजेटमध्ये पुँजीगततर्फ ६०.६८ प्रतिशत (२० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ), चालुतर्फ ३८.५६ प्रतिशत (१२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ) र वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटको स्रोतका रूपमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टीबाट ५१ करोड ४८ लाख, ससर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरकबाट ५५ करोड ४६ लाख र विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । बाँकी स्रोतमा प्रदेशको आन्तरिक राजस्वबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन गर्ने, चालु वर्षको बचतबाट २ अर्ब रुपैयाँ उपयोग गर्ने र अपुग १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत व्यवस्थापन गर्ने सरकारको योजना छ ।अर्जुन शाह (धनगढी), कृष्णप्रसाद गौतम (सुर्खेत), घनश्याम गौतम (बुटवल), दीपक परियार (पोखरा), अजित तिवारी (जनकपुर), पर्वत पोर्तेल (विराटनगर)

समाचार

सिंहदरबारमा महावीरको ‘स्टार्टअप’

मन्त्रालयमै बस्ने र खाने–पिउने गर्दा सुरक्षाकर्मी र कर्मचारीलाई नयाँ अनुभवसँगै कतिपय अवस्थामा व्यवस्थापकीय अप्ठ्यारो।
- सजना बराल

नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई यतिबेला आफ्नो आधारभूत संरचना निर्माण र कानुनी जग बसाल्ने चटारो छ । महावीर पुनको नेतृत्वमा मन्त्रालयले सांगठनिक स्वरूप (ओएन्डएम) को काम टुंग्याउँदै अनुसन्धानलाई उत्पादन र बजारसँग जोड्ने लक्ष्यसाथ गृहकार्य अघि बढाएको जनाएको छ । 

मन्त्रालयकी प्रवक्ता मोनिका झाका अनुसार मन्त्रालयमा अहिले प्रारम्भिक व्यवस्थापनको काम भइरहेको छ । नयाँ सेटअपमा जाँदा सुरुमा प्रशासन र लेखाजस्ता आधारभूत संयन्त्रको समेत अभाव झेल्नुपरेको उनले सुनाइन् । हाल स्वीकृत २४ जनाको दरबन्दीमध्ये करिब १५ जना मात्रै कर्मचारी उपलब्ध हुँदा दैनिक कार्यसम्पादनमा कठिनाइ भइरहेको उनको भनाइ छ । ‘पहिलो प्राथमिकता ओएन्डएम सर्वेक्षण सम्पन्न गरी मन्त्रिपरिषद्मा स्वीकृत गराउनु हो,’ उनले भनिन्, ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि कसरी अघि बढ्ने भन्नेमा सहज होला ।’ 

तर, मन्त्री पुनको कार्यशैली यस पटक पनि अघिल्लो पटकझैं अनौठो देखिएको छ । पुन यसअघिको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए । उनी यस पटक पनि सिंहदरबारस्थित साबिकको खेलकुद मन्त्रालय रहेको भवनमै ओछ्यान लगाएर बस्ने र त्यहीँ अनुसन्धान र छलफलमा जुट्ने गरेका छन् । आइतबार उनले गाउँबाट साथीहरूले ल्याइदिएको निगालोको टुसा तरकारी पकाउन लागेको भिडियो पोस्ट गरेका थिए । ‘तीन–चार दिन भात खाने पैसा आउँछ यत्ति पोस्ट गर्दा पनि,’ उनले क्याप्सन लेखेका छन् । सोही पोस्टमा आफूलाई प्रश्न र आलोचना गर्नेलाई उनले ठाडो प्रतिक्रिया पनि दिन भ्याएका छन् ।

बुधबार (असार १६) देखि मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य वज्राचार्यले अवकाश पाउने भएपछि मन्त्री पुनले चार दिनअघि फेसबुकमै ‘अनुभवी, कर्मठ र कार्यसम्पादन गर्न सक्ने सचिव चाहियो’ भन्दै विज्ञापन शैलीमा पोस्ट गरेर सबैलाई चकित पारेका थिए । सामान्यतया मन्त्रालयका सचिवहरू मन्त्रिपरिषद्को निर्णयपछि सरुवा भएर आउने चलन भए पनि, पुनले ‘कोही इच्छुक हुनुहुन्छ कि ?’ भन्दै खुला रूपमै आह्वान गरेपछि प्रशासनिक वृत्तमा हाँसो र आश्चर्य छाएको थियो । उनले पछि स्पष्टीकरण दिँदै ‘हाल कार्यरत सचिवहरूमध्येबाटै इच्छा हुनेलाई आउनुस् भनेको हो, नियमअनुसार नै नियुक्ति हुने हो’ भनेर थामथुम पारेका छन् ।

मंगलबार अपराह्न कार्यकक्षमै बसेर मोबाइलमा घोत्लिरहेका पुनले साँझतिर फेसबुकमा पोस्ट गर्दै संशोधनको चरणमा रहेको निजामती सेवा ऐनमा ‘विज्ञान प्रविधि सेवा’ छुटेको औंल्याएका थिए । उनले यो सेवाअन्तर्गत स्पेस टेक्नोलोजी, बायोटेक्नोलोजी, एआई, रोबोटिक्सजस्ता विषय राख्नुपर्ने भन्दै सूची नै बनाएर सार्वजनिक सुझाव मागेका छन् । निजामती ऐनमा यसअघिदेखि नै सूचना प्रविधिसम्बन्धी सेवा थप गर्नुपर्ने माग हुँदै आएकामा पुनले विज्ञान प्रविधि सेवा समावेश गर्नेबारे छलफल भएको जनाएका हुन् । 

मन्त्रालयको सांगठनिक स्वरूपको काम सकिएको जानकारी दिँदै त्यसलाई अब मन्त्रिपरिषद् बैठकमा लग्ने उनले जानकारी दिए । साथै, मन्त्रालय सञ्चालन गर्न नभई नहुने ५ वटा महत्त्वपूर्ण विधेयक बनाउने काम अब सुरु भएको र त्यसका लागि कम्तीमा ४ महिना लाग्ने उनले बताए । ‘मन्त्रालयकै तर्फबाट पब्लिकका लागि इन्नोभेसन हब र विद्यार्थीहरूका लागि विश्वविद्यालयहरूमा इन्नोभेसन ल्याबहरू बनाएर सञ्चालन गर्ने लक्ष्य छ,’ उनले कान्तिपुरसँग भने, ‘काम गर्नलाई अप्ठ्यारो भनेको हामीसँग कानुन छैन । पहिलो प्राथमिकता कानुन बनाउने हो ।’ 

पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन, उन्नत औद्योगिक प्रविधि प्रवर्द्धन ऐन, रासायनिक पदार्थ व्यवस्थापन ऐनको तर्जुमा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ऐन, २०४८ को संशोधन प्राथमिकतामा रहेको बताए । ‘नास्टको ऐन अहिलेको समयअनुसार सान्दर्भिक नभएका संशोधन गर्न लागेका हौं, उनले भने, ‘अहिले मेरो काम बिहानैदेखि मन्त्रालयमा विभिन्न सरोकारवालाहरूसँग छलफल र मिटिङ गर्ने, कुरा सुन्ने भइरहेको छ ।’

मन्त्री पुनले विश्वविद्यालयका प्राज्ञिक अनुसन्धानहरूलाई ‘अप्लाइड रिसर्च’ (व्यावहारिक अनुसन्धान) मा बदल्न र त्यसबाट उद्यमी बन्न चाहनेहरूलाई सहयोग गर्ने तयारी भइरहेको बताएका छन् । विश्वविद्यालय र कलेजहरूमा प्राज्ञिक ल्याबबाहेक छुट्टै ‘इन्नोभेसन ल्याब’ स्थापना गर्ने र निजी क्षेत्रका ल्याबहरूलाई पनि प्रोत्साहन गर्ने उनको योजना छ । औपचारिक शिक्षा नभएका तर गाउँघरमा नयाँ सोच र आइडिया भएका प्रतिभाहरूलाई समेत समेट्न छुट्टै ‘इन्नोभेसन सेन्टर’ को अवधारणा अघि सारेका हुन् । मन्त्री पुनले कानुन निर्माणका लागि समय लाग्ने भए पनि आफ्नो कार्यकालमा ठोस कानुनी आधार तयार गरेर छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मन्त्रालयले नीति बनाउनुका साथै विज्ञान र प्रविधिको एउटा छुट्टै ‘इकोलोजी’ निर्माण गर्न खोजेको प्रवक्ता झाले जानकारी दिइन् । हाल नेपालमा गरिने अनुसन्धानहरू प्रकाशनमा मात्र सीमित हुने गरेकामा अब त्यसलाई सर्वसाधारणको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने गरी उत्पादन र सेवामा बदल्न मन्त्रालयले ध्यान दिने उनको भनाइ छ । 

प्रवक्ता झाका अनुसार प्राविधिक पृष्ठभूमि भएका मन्त्री हुँदा कर्मचारीलाई आफ्नो कुरा बुझाउन सहज भएको छ । मन्त्रालयले विदेशमा रहेका नेपाली वैज्ञानिकहरूलाई स्वदेश फर्काउने र यहीँ रहेका प्रतिभालाई रोजगारी सिर्जना गरी पलायन हुनबाट रोक्ने दीर्घकालीन लक्ष्य लिएको उनले बताइन् । 

मन्त्रीले मन्त्रालयमै बस्ने र त्यहीँ खाने–पिउने गर्दा सुरक्षाकर्मी र कर्मचारीहरूलाई कतिपय अवस्थामा व्यवस्थापकीय अप्ठ्यारो र नयाँ अनुभव भइरहेको एक कर्मचारीले बताए । उनलाई सहयोग गर्न मन्त्रालयकै एक सहायक र सुरक्षाकर्मी उनीसँग रहने गरेका छन् । ‘मन्त्रालयमा कतै फोहोर देखियो वा कमिला लागेको भेटियो भने पनि उहाँ आफैं चासो दिनुहुन्छ,’ उनले भने, ‘यसले गर्दा हामी कर्मचारीहरू सधैं सचेत रहनुपर्ने अवस्था छ ।’ नयाँ मन्त्रालयको ‘सेटअप’, ऐन/कानुनबेगर नै मन्त्रीले ‘फास्ट’ नतिजा खोज्दा कतिपय कर्मचारी भने रनभुल्लमा परेका छन् ।

Page 4
म्यागेजिन

को कस्ता सभामुख ?

संसद्‌लाई प्रभावकारी रुपमा सञ्चालन गर्न, राज्यलाई आवश्यक पर्ने नीति निर्माण गर्न तथा सरकार र प्रतिपक्षलाई जिम्मेवार बनाउन सभामुखको महत्त्वपूर्ण भूमिका हुन्छ।
- गंगा बीसी

बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा निर्वाचित भएपछि सभामुखलाई अरू सांसदले सभामुख बलपूर्वक तानेर कुर्सीसम्म पुर्‍याउने परम्परा छ । यो अनौठो चलनका पछाडि सभामुख पदको संवेदनशीलता जोडिएको छ ।

‘पार्लियामेन्ट डट यूके’ मा यसबारे लेखिएको छ, ‘मध्ययुगमा हाउस अफ कमन्सका विचार तथा निर्णय राजासमक्ष पुर्‍याउनुपर्थ्यो । सम्राट् त्यस्ता सन्देशसँग असहमत भए सभामुखको अकालमै ज्यान सक्थ्यो । त्यसैले विगतका सभामुखलाई यो पद स्वीकार गराउन केही सम्झाइबुझाइ वा हल्का दबाब दिनुपर्ने हुन्थ्यो ।’ यही विषय सम्झाउन अहिले पनि त्यहाँ नयाँ सभामुखलाई तानेर कुर्सीसम्म पुर्‍याउने गरिन्छ । 

बेलायतमा भनाइ नै छ, ‘सभामुख सांसद होइन, सरकार पनि होइन, विपक्ष पनि होइन । संसद्को संरक्षक हो । निष्पक्षता कायम राख्दै शक्तिशाली सरकार, आक्रामक विपक्ष र संसद्लाई सन्तुलन मिलाउनुपर्ने भएकाले यो पद अत्यन्त गाह्रो मानिन्छ ।’ 

बेलायतमा मात्र होइन, जहाँ पनि संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न, राज्यलाई आवश्यक पर्ने नीति निर्माण गर्न तथा सरकार र प्रतिपक्षलाई जिम्मेवार बनाउन सभामुखको महत्त्वपूर्ण भूमिका हुन्छ । सभामुखले सत्तापक्ष र विपक्षीबीच हुने द्वन्द्वमा ‘रेफ्री’ को भूमिका निर्वाह गर्न सक्छन् । तर यही भूमिका यहाँ सभामुख डीपी अर्यालले निष्पक्ष रूपमा निर्वाह गर्न नसकेको भन्दै विपक्षी दलहरूले प्रश्न उठाउन थालेका छन् । 

अर्याल सभामुख भएको तीन महिना पनि भएको छैन । उनी सत्तारूढ रास्वपाका तर्फबाट गत २२ चैतमा सभामुखमा निर्वाचित भएका हुन् । निष्पक्ष भूमिका निर्वाह गर्ने भनेर सभामुख निर्वाचित भइसकेपछि पार्टीको सदस्य समेतबाट राजीनामा दिने गरिन्छ । तर सभामुख अर्याल रास्वपा नेतृत्वको सरकारबाट प्रभावित भएको आरोप विपक्षी दलहरूले लगाइरहेका छन् ।

सभामुखको भूमिकालाई लिएर नेपालमा प्रश्न उठेको यो पहिलो पटक भने होइन । यसअघिका अधिकांश सभामुखमाथि पक्षधरता देखाएको र पदको गरिमा कायम गर्न नसकेको आरोप विपक्षी दलले लगाउने गरेका थिए । कतिपयमाथि सार्वजनिक रूपमै पनि प्रश्न उठेको थियो । 

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह नआएपछि विपक्षी दलले उपस्थितिका लागि ‘रुलिङ’ गर्न सभामुख अर्यालसँग पटक–पटक माग गरेका थिए । कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले संसद् अवरुद्ध नै गरे । तर सभामुखले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गरेनन् । 

प्रधानमन्त्री शाहले १७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले ‘भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिए, जुन विवादित बन्यो । विपक्षी दलहरूले त्यसको स्पष्टीकरण प्रधानमन्त्रीले दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरे । यसमा पनि सभामुखले ‘रुलिङ’ गरेनन् । विपक्षी दलले गरेको वेल घेराउबीच सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली पारित गराए । नियमावली पारित गर्ने बेला ठूलो संख्यामा मर्यादापालक परिचालन गरिएको थियो । 

कांग्रेस प्रमुख सचेतक निस्कल राई सभामुख अर्याल संसद्को गरिमा कायम राख्न बेलाबेला चुक्ने गरेको बताउँछन् । ‘प्रतिनिधिसभा नियमावली पारित गर्दा सभामुखको भूमिका तटस्थ देखिएन । प्रधानमन्त्रीले संसद्मा जवाफ दिने विषयलाई सहज तरिकाले समाधान गर्नुभएन,’ उनले भने, ‘आगामी दिनमा सभामुखले संसद्मा गरिमा कायम राख्नुहुनेछ भन्ने विश्वास छ ।’ 

संसदीय मामिलाका जानकार पत्रकार एवं लेखक हरिबहादुर थापाले सभामुख अर्याल सर्वदलीय परामर्श र सहमतिको प्रक्रियाभन्दा छिटो निर्णयमा जान खोजेको देखिएको बताए । ‘सभामुखको भूमिका मूलतः रेफ्रीको जस्तो हो । संसद्मा सत्ताको छाया पर्न नदिने, संसदीय समितिहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिने तथा सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने जिम्मेवारी सभामुखकै हो,’ उनले भने, ‘बहुमत छ भन्दैमा सभामुखमा असीमित अधिकार प्राप्त भएको ठानियो भने त्यसले समस्या सिर्जना गर्न सक्छ ।’

नेपालका पहिलो सभामुख कृष्णप्रसाद भट्टराई हुन् । उनलाई मर्यादित रूपमा संसद् चलाउने सभामुखका रूपमा लिने गरिन्छ । भट्टराई २०१५ सालको आमनिर्वाचनमा गोरखा उत्तर क्षेत्रबाट पराजित भएका थिए तर उनको राजनीतिक उचाइ र अनुभवका आधारमा संसद्मा ल्याएर निर्विरोध सभामुख बनाइएको थियो । प्रतिपक्ष दल गोर्खा परिषद्ले पनि भट्टराईलाई सभामुखमा समर्थन गरेको थियो ।

संसदीय मामिलाका जानकार पत्रकार एवं लेखक थापा सभामुखका रूपमा भट्टराईले संसद्को गरिमालाई उच्च राख्न भूमिका निर्वाह गरेको बताउँछन् । ‘पहिलो आमनिर्वाचनपछि शून्यबाट सुरु भएको पहिलो संसद्मा नियमावली बनाउने, सांसदहरूलाई संसदीय मर्यादा सिकाउने र बहसलाई रचनात्मक बनाउने विषयमा उहाँको राम्रो भूमिका रह्यो,’ उनी भन्छन्, ‘सांसदले बोल्ने विषय उहाँ सम्झाउनुहुन्थ्यो । तथ्य, तथ्यांक, उद्धरण, ऐतिहासिक दस्ताबेज लिखित रूपमा ल्याएर बोल्न राम्रो हुन्छ भनेर सुझाव दिनुहुन्थ्यो । संसदीय मर्यादा बाहिरका शब्द प्रयोग गरेको पाइए सभ्य शब्द प्रयोग गर्नुस् भन्नुहुन्थ्यो ।’ त्यतिबेलाको संसद् पुस २०१७ सम्म चलेको थियो । थापाका अनुसार त्यतिबेला गोर्खा परिषद्ले जम्मा आधा घण्टा संसद् अवरुद्ध गरेको थियो । संसद्मा कांग्रेसको दुईतिहाइ बहुमत थियो । भट्टराई १९ असार २०१६ देखि १ पुस २०१७ सम्म सभामुख थिए । १ पुसमा तत्कालीन राजा महेन्द्र शाहले संसद् भंग गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति बीपी कोइरालाले २०१५ सालको संसद् सहज ढंगले चलेको विषय ‘आत्मवृत्तान्त’ मा उल्लेख गरेका छन् । ‘हाम्रो संसद् असाध्यै राम्रोसँग चल्थ्यो । संसद्मा गोर्खा परिषद् मुख्य विरोधी दल थियो । प्रतिपक्षका नेता भरतशमशेर थिए । संसद्मा उनीहरू असाध्यै राम्रो पार्लियामेन्टेरियनका रूपमा देखा परे । हामी त छक्कै पर्‍यौं,’ उनले लेखेका छन्, ‘संसद्भित्र उनीहरूले जे भूमिका खेले, त्यो एउटा असाध्यै राम्रो र जिम्मेवार प्रतिपक्षको जस्तो थियो ।’

२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्बहाली भएपछि गठन भएको प्रतिनिधिसभामा दमननाथ ढुंगाना सभामुख भए । २०४८ को आमनिर्वाचनमा कांग्रेसले बहुमत ल्याएर एकल सरकार बनाएको थियो । कानुनी पृष्ठभूमिका ढुंगाना कांग्रेसबाट सभामुखमा निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसको एकल बहुमत थियो । उनलाई सभामुख बनाउने बेला विपक्षी दलले पनि समर्थन गरेका थिए । ढुंगानाले ‘सरकार सत्तापक्ष र संसद् विपक्षको भन्ने मान्यता’ स्थापित गराएको भन्ने गरिन्छ ।

पत्रकार एवं लेखक थापा नेपालको संसदीय प्रणालीको आधार बनाउन ढुंगानाले महत्त्वपूर्ण योगदान भएको बताउँछन् । ‘संसद्लाई साँच्चिकै स्वस्थ बहसको थलो बनाउन उहाँले विपक्षीका मुद्दालाई पर्याप्त स्थान दिनुभयो, जसका कारण तत्कालीन सत्तारूढ कांग्रेससँग उहाँको सम्बन्ध राम्रो हुन सकेन ।’ उनका अनुसार संसद्मा सत्ताको छाया पर्न नदिएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग ढुंगानाको सम्बन्ध बिग्रिएको थियो । 

भर्खरै संसदीय प्रक्रियामा आएको तत्कालीन प्रमुख प्रतिपक्ष एमाले संसद्मा चर्को रूपमा प्रस्तुत हुन्थ्यो । एमालेले फागुन २०४८ मा टनकपुर सन्धि स्थगनको माग गर्दै सात घण्टा संसद् अवरुद्ध गरेको थियो । अरू सरकारी निर्णयविरुद्ध पनि उसले संसद्मा अवरोध गरेको थियो । तर ढुंगानाले एमालेलाई पेलेर जाने गरी कदम चालेनन् । ‘संसद्मा सत्तापक्षको दबाब पर्न नदिन उहाँले विपक्षी सांसदलाई बोल्न प्रोत्साहन गर्नुभयो,’ थापाले सम्झिए, ‘विपक्षीलाई च्यापेको भन्दै कांग्रेसले दबाब बढाएपछि उहाँ सभामुखबाट राजीनामा दिने मनस्थितिमा समेत पुग्नुभएको थियो ।’

त्यतिबेलाको संसद्मा प्रतिपक्षी दलका सांसद थिए, विरोध खतिवडा । संसद्मा निरन्तर बोल्ने भएकाले तत्कालीन सभामुखसँग संसदीय शैलीमा उनको सबालजवाफसमेत हुन्थ्यो । तर सभामुखले रोकेनन्, बोल्न दिए । विपक्षीका तीखा प्रश्नहरू राख्न दिएर संसद्लाई गतिशील बनाए । ‘ढुंगानालाई कांग्रेसले सभामुख बनाए पनि उहाँले न कांग्रेसको अहंकारलाई बोक्नुभयो, न प्रतिपक्षका कतिपय उग्र गतिविधिलाई छुट दिनुभयो । उहाँले सन्तुलित व्यवहार देखाउनुभयो,’ खतिवडाले भने, ‘त्यतिबेला एमाले चर्को क्रान्तिकारी थियो । संसद्मा सत्ता र प्रतिपक्षबीच शब्दशब्दमा विवाद हुन्थ्यो । सभामुखले संसद्भित्रको द्वन्द्वलाई व्यवस्थापन गर्नुभयो ।’

तत्कालीन सभामुख ढुंगानाले प्रतिपक्षलाई सदनमा बोल्न दिएर ‘जनताको बोली सुनाउने मौका दिएको’ उनको अनुभव छ । तत्कालीन सांसद खतिवडाले निरन्तर विरोध गरेपछि एक दिन सभामुख ढुंगानाले ठट्यौली शैलीमा भनेका थिए, ‘तपाईंको काम विरोध गर्ने र मेरो काम दमन गर्ने हो ।’ तर खतिवडाको भनाइमा उनले नामअनुसार ‘विपक्षीलाई दमन’ गरेनन् । 

सत्तापक्ष र प्रतिपक्षबीच गम्भीर मतभेद भए पनि ढुंगानाले समन्वयसाथ व्यवस्थापन गर्थे । पत्रकार थापाका अनुसार ढुंगानाले सूचना टाँस गरी कहिल्यै संसद् स्थगन गरेनन् । उनी ९ असार २०४८ देखि १५ असोज २०५१ सम्म सभामुख भएका थिए । प्रतिनिधिसभा नै विघटन गरिएका कारण उनको कार्यकाल सकिएको थियो । ढुंगानाको २ मंसिर २०८१ मा निधन भयो । 

२०५१ को आमनिर्वाचनपछि गठित प्रतिनिधिसभामा कांग्रेसबाटै रामचन्द्र पौडेल सभामुख भए । उनकै पालामा संसद्मा तोडफोड र नाराबाजी भयो । सभामुख सत्तापक्षतिर ढल्किएका कारण प्रतिपक्ष एमाले चर्को रूपमा प्रस्तुत भएको टिप्पणी हुने गरेको छ । ‘सत्तापक्षलाई साथ दिएको भन्दै विपक्षी एमालेले सभामुखविरुद्ध संसद्मा खराब आचरणको प्रस्तावसमेत दर्ता गराएको थियो । तर त्यो प्रस्ताव असफल भयो,’ पत्रकार थापाले भने । 

उनका अनुसार बहुमतको निर्णयमा अल्पमतले अवरोध गर्न पाउँदैन भन्ने मान्यतामा तत्कालीन सभामुख पौडेल थिए । असोज २०५५ मा प्रतिपक्ष एमालेको विरोधबीच ‘स्थानीय स्वायत्त शासन ऐन’ पारित गर्दा संसद्का सात लहर कुर्सी र माइक तोडफोड गरिएका थिए । ‘पौडेलका पालामा देखिने गरी संसद्मा सत्ताको छाया परेको थियो ।’ थापा सम्झन्छन्, ‘विरोध गरेबापत हृदयेश त्रिपाठीलगायत सांसद निष्कासित भएका थिए ।’ पौडेल ९ चैत २०५५ सम्म सभामुखको भूमिकामा थिए, अहिले राष्ट्रपति छन् । 

२०५६ को आमनिर्वाचनमा बहुमत ल्याएर कांग्रेसले गठन गरेको मन्त्रिपरिषद्मा तारानाथ रानाभाट कानुनमन्त्री थिए । तर कांग्रेस नेता एवं तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जोडबलमा उनी मन्त्री पदबाट राजीनामा दिएर ७ असार २०५६ मा सभामुख भए । 

संसद्मा सत्ता र प्रतिपक्षबीच द्वन्द्व हुँदा पर्याप्त सर्वदलीय छलफल गराएर समाधान निकाल्ने प्रयास उनी गर्थे । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले लाउडा जहाज भाडामा लिँदा अनियमितता भएको भन्ने विषय उठाएर एमालेले २०५७ मा हिउँदे अधिवेशनको पूरा अवधि ५७ दिन संसद् अवरुद्ध गरेको थियो । लाउडा जहाज प्रकरणमा एमालेले तत्कालीन प्रधानमन्त्री कोइरालाको राजीनामा मागेको थियो ।

 ‘सभामुखका रूपमा रानाभाट सत्तापक्ष र विपक्षका कुरा सुन्नुहुन्थ्यो । तर लाउडा प्रकरणमा संसद्को गतिरोध अन्त्य गर्न चुक्नुभयो,’ थापाले भने । तत्कालीन राजा ज्ञानेन्द्र शाहले १९ माघ २०६१ मा शासन सत्ता आफ्नो हातमा लिए पनि रानाभाट सभामुखका रूपमा थिए । राजाको सक्रिय शासन सुरु भएपछि कांग्रेस, एमालेसहित सात राजनीतिक दलले तत्कालीन विद्रोही माओवादीसँग समेत सहकार्य गरी आन्दोलन चर्काए । आन्दोलनका कारण ११ वैशाख २०६३ मा संसद् पुनःस्थापना भयो । त्यसपछि रानाभाटले सभामुख पदबाट राजीनामा दिए । सभामुखको जिम्मेवारीमा ३० वैशाख २०६३ मा एमालेका सुवास नेम्वाङ आए । 

२०६३ मंसिर ५ मा सरकारसँग विस्तृत शान्ति सम्झौता भएपछि तत्कालीन माओवादी पनि अन्तरिम व्यवस्थापिकामा उपस्थित भएको थियो । लामो समय वकालत गरेका र संसदीय अनुभवसमेत भएका नेम्वाङ सबै दलका साझा सभामुख जस्तै थिए । उनले कुशलतापूर्वक संसद्को व्यवस्थापन गरे । सशस्त्र द्वन्द्वबाट आएको माओवादीलाई संसदीय प्रणाली बुझाए । पुराना दल कांग्रेस र एमालेलाई सन्तुलनमा राखे । 

२०६४ र २०७० को संविधानसभा निर्वाचनपछि पनि नेम्वाङ नै सभाध्यक्ष (व्यवस्थापिका संसद्को सभामुख) भए । उनी सबभन्दा लामो समय अर्थात् २७ असोज २०७२ सम्म सभामुख भए । उनको निधन २६ भदौ २०८० मा भयो । 

सभामुखका रूपमा नेम्वाङले लामो संसदीय अनुभवका आधारमा संसद्मा सहमति र संवादको वातावरण बनाउने प्रयास गरेको पत्रकार थापाको बुझाइ छ । नेम्वाङको कार्यकालमा संसद्को महासचिव मनोहरप्रसाद भट्टराई नेम्वाङले त्यतिबेला कांग्रेस, एमाले, तत्कालीन माओवादी र मधेशकेन्द्रित दलबीच समन्वय मिलाएर सदन अघि बढाएको बताउँछन् । ‘मैले धेरै सभामुखसँग काम गरें । नेम्वाङसँग भने संविधानसभाको पूर्ण अवधिमा काम गरे । संसदीय प्रणाली, आचरण, कार्यशैली, दलहरूबीच समन्वय गर्न सक्ने अतुलनीय क्षमता उहाँमा थियो,’ उनले भने । 

पूर्वसभामुख ओनसरी घर्ती नेम्वाङले पदको गरिमालाई ख्याल गरेर सभामुखको जिम्मेवारी निर्वाह गरेको बताउँछिन् । ‘उहाँले सत्ता र प्रतिपक्षबीच द्वन्द्व भएको बेला पनि समग्र सदनलाई ठीक ठाउँमा ल्याउनुहुन्थ्यो । उहाँमा पेलेर जानुपर्छ भन्ने दम्भ थिएन । सकेसम्म सहजीकरण गर्ने, संवाद गर्ने शैली थियो,’ उनले भनिन्, ‘असहमति हुँदा दलका नेतासँग पहलकदमी गर्नुहुन्थ्यो । मैले पनि धेरै राम्रो कुरा सिकें । विवादरहित रूपमा सभा सञ्चालन गर्नुहुन्थ्यो । सभामुखका रूपमा उहाँको व्यक्तित्व अग्लो छ ।’

नेम्वाङ संविधानसभा अध्यक्ष (व्यवस्थापिका संसद्को सभामुख) भएकै बेला घर्ती २०७० देखि २०७२ सम्म संविधानसभा उपाध्यक्ष (उपसभामुख) थिइन् । सहमतिका नाममा कहिलेकाहीं बढी उदार हुनुलाई नेम्वाङको कमजोरीका रूपमा उनी औंल्याउँछिन् । ‘संविधानमा सहमति जुटाउन उहाँ कहिलेकाहीं बढी नै उदार भएको हो कि भन्ने जस्तो देखिन्थ्यो । किनकि कहिलेकाहीं छिटो निर्णय गर्नुपर्ने अवस्था हुन्थ्यो,’ उनले भनिन् । 

सामान्य अवस्थामा सहज ढंगले सभा चलाए पनि संविधान जारी गर्ने बेला नेम्वाङ आफूहरूलाई पेलेर अघि बढेको मधेशकेन्द्रित दलहरूको भनाइ छ । संविधानसभा जारी गर्ने बेला ५७ सिट रहेका तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा), 

सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम–नेपाल, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र तराई मधेश सद्भावना पार्टीले संघ, प्रदेश र स्थानीय तहको अधिकार, निर्वाचन क्षेत्रलगायत विषयमा असहमति राखेर सभा बहिष्कार गरेका थिए । 

सद्भावना पार्टीबाट संविधानसभा सदस्य रहेका लक्ष्मणलाल कर्णले संविधानसभाको अन्त्यतिर मधेशकेन्द्रित दलहरूले संविधानका विषयवस्तुमा असहमति राखेको बेला सभामुख नेम्वाङमा कांग्रेस, एमाले र माओवादीको छाया परेको बताए । ‘संविधान जारी हुनुअघि नम्र, भद्र देखिने नेम्वाङमा संविधान जारी गर्ने बेलाचाहिँ दलको छाया देखियो । मधेशकेन्द्रित दलहरूले संविधानका विषयवस्तुमा असहमति राखेका बेला उहाँले संविधानसभामा बैठक अघि बढाएर निर्णय लिनुभयो,’ उनले सुनाए । 

संविधानसभाबाट संविधान जारी भएपछि २९ असोज २०७२ मा तत्कालीन माओवादीकी घर्ती सभामुख भइन् । उनी पहिलो महिला सभामुख हुन् । उनको कार्यकाल २९ असोज २०७४ सम्म चल्यो । संसद्मा सकेसम्म सहमति र नभए बहुमतबाट निर्णय गराउने उनको कार्यशैली थियो । नेम्वाङ सभामुख हुँदा उपसभामुख रहेकी उनले सभामुख भइसकेपछि दलहरूबीच संवाद गर्न नेम्वाङको शैलीलाई पछ्याएकी थिइन् । 

‘विपक्षीहरूलाई पर्याप्त ठाउँ दिनुपर्छ भन्ने मेरो बुझाइ थियो । तर हाउसले जे निर्णय गर्छ, त्यही मान्नुपर्छ,’ पूर्वसभामुख घर्तीले भनिन्, ‘तर त्यसअघि कसैले भिन्न मत राख्छ भने त्यसको महत्त्व बुझेर समय दिन्थें ।’ सभामुखले पारदर्शी तरिकाले काम गरे दलहरूबीच सहमति जुट्ने उनको अनुभव छ । 

२०७४ को प्रतिनिधिसभा निर्वाचनपछि २७ फागुन २०७४ मा तत्कालीन माओवादीबाट कृष्णबहादुर महरा सभामुख भए । त्यतिबेला एमाले र माओवादीको गठबन्धनको झन्डै दुईतिहाइ सिट थियो, चुनावको केही महिनामै ती दलले एकता गरेका थिए ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदन प्रक्रिया महराले अघि नबढाएको आरोप कांग्रेसले लगाएको थियो । उनी एक महिलासँग सम्बन्धका कारण विवादमा परे । आफूमाथि लागेको आरोपमाथि अनुसन्धानमा सहज होस् भन्दै १४ असोज २०७६ मा उनले राजीनामा दिए ।

महराले राजीनामा दिएपछि १२ माघ २०७६ मा तत्कालीन नेकपाबाट अग्निप्रसाद सापकोटा सभामुख चयन भए । विश्लेषकहरूका अनुसार सापकोटामा पनि तत्कालीन नेकपाको प्रभाव परेको थियो । भदौ २०७८ मा एमालेले कारबाही गरेका माधव नेपाल पक्षका १४ सांसद निष्कासनको सूचना टाँस गर्न अस्वीकार गरेपछि उनको आलोचना भएको थियो । यही विषय लिएर एमालेले बजेट र हिउँदे अधिवेशन गरी नौ महिना संसद्मा विरोध गर्‍यो । जेठ २०७९ मा मात्र एमालेले विरोध गर्न छाड्यो । सापकोटा २२ असोज २०७९ सम्म सभामुख भएका थिए । 

२०७९ को संसदीय निर्वाचनपछि ६ माघ २०७९ मा एमालेका देवराज घिमिरे सभामुख भए । उनलाई सभामुख बनाउन तत्कालीन माओवादीले साथ दिएको थियो । तत्कालीन माओवादीले कांग्रेससँग चुनावी गठबन्धन गरेको भए पनि सभामुख चयनका बेला एमालेले सहकार्य थालिसकेको थियो । 

घिमिरेमा भने एमालेको प्रत्यक्ष छाप परेको पत्रकार थापा बताउँछन् । ‘कांग्रेस–एमाले गठबन्धन बनेपछि घिमिरेमा खास गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको छापा बलियो गरी पर्‍यो । सरकारलाई रुलिङ गर्न नसक्ने, दलीय सहमतिभन्दा सत्तापक्षको मुद्दालाई प्राथमिकता दिने गरेको देखियो,’ उनी भन्छन् । 

सभामुखका रूपमा घिमिरेको निष्पक्षतामा विपक्षी दलले व्यापक प्रश्न उठाएका थिए । विपक्षी दलका सांसदको आवाज दबाएको आरोप उनीमाथि लागेको थियो । भदौ २०८१ मा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्व ‘हिंसात्मक’ भएको अभिव्यक्ति दिएपछि तत्कालीन माओवादीका सांसदले विरोध गरेका थिए । ‘हिंसात्मक’ शब्द संविधानविपरीत भएको भन्दै रेकर्डबाट हटाउन माग गरिए पनि सभामुखले सुनेनन् । घिमिरे ५ माघ २०८२ सम्म सभामुख थिए । 

पूर्वसभामुख घर्ती सभामुख पार्टीबाटै आउने भए पनि निर्वाचित भइसकेपछि आफ्नो तटस्थ भूमिकामाथि सजग हुनुपर्ने बताउँछिन् । ‘सभामुखले के गर्दा राज्य र जनतालाई फाइदा हुन्छ भन्ने हेर्नुपर्छ,’ उनले भनिन्, ‘कतिपय सभामुख पार्टीबाट निर्देशित भएको देखेकी छु । त्यसले सभामुख स्वयंलाई अप्ठेरो पार्छ । सभामुखले सकेसम्म सर्वसम्मत, नभए जतिसक्दो धेरै दलको सहमतिमा निर्णय गर्नुपर्छ ।’

Page 5
Page 6
दृष्टिकोण

कठोर जरिवाना होइन, जनचेतना विस्तारलाई प्राथमिकता

आफ्नो पक्षको जिम्मेवारी पूरा नगरेको सरकारले नागरिकमा आर्थिक भार सिर्जना गर्ने र उद्देश्य पूरा गर्ने रणनीति अख्तियार गर्न खोजेको विधेयकको मस्यौदाले संकेत गर्छ ।
- सम्पादकीय

नेपालमा सडक दुर्घटना र त्यसले निम्त्याउने मृत्युको दर चिन्ताजनक अवस्थामा छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा एक वर्षमा हुने मृत्युमध्ये सडक दुर्घटनाबाट हुने २८ प्रतिशत हाराहारी छ । सडक दुर्घटनामा मुख्यतः ऊर्जाशील उमेर समूहका मानिस पर्छन् । जसकारण मृत्यु वा अंगभंग हुने गरेको छ ।

दुर्घटनापछि हुने मृत्यु वा स्थायी अंगभंगका कारण परिवारका सदस्यले समेत आघात सहनुपर्छ । कतिपय परिवारले निरन्तर आर्थिक भार पनि सहनुपर्छ । सम्भवतः यस्तै समस्या न्यूनीकरणको उद्देश्य राखेर पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायातसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ । ठूलो समस्याप्रतिको संवेदनशीलता र समस्या न्यूनीकरणका लागि सरकारी पहल सकारात्मक छ । यद्यपि, ठूला आर्थिक जरिवानाको प्रस्ताव गरिएका कारण विवाद उत्पन्न भएको छ । यसबारे सरकार सचेत हुनुपर्छ र विधेयकलाई अन्तिम रूप दिँदा अहिले चलिरहेका सार्वजनिक विमर्शलाई ध्यान दिँदै सुधार गर्नुपर्छ ।

पूर्वाधार विकास मन्त्रालयले सहमति माग गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको मस्यौदा विधेयकमा मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी चलाए २५–५० हजार जरिवानाको प्रस्ताव गरिएको छ । त्यस्तै, निर्धारित स्थानबाहेकबाट पैदलयात्रीले यात्रा गरेमा ५ सय, निर्धारण गरिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएमा ३–५ हजार, तोकिएको भन्दा बढी तौल बोकेमा १५ हजार, सिट क्षमताभन्दा बढी यात्री राखेमा ५–२० हजार, बेल्ट नबाँधी र हेल्मेट नलगाई चलाएमा ३ हजार, सडकमा निर्माण सामग्री, सवारीसाधन वा पशु–चौपाया छोडी बाधा पुर्‍याए ५–२५ हजार जरिवाना प्रस्ताव गरिएको छ ।

यीलगायतका अन्य कसुरमा पनि चर्को दरको जरिवानाको प्रस्ताव गरिएको छ । जरिवानाको यस्तो दरले नागरिकको आर्थिक–सामाजिक हैसियत ख्याल नगरेको भन्दै कटाक्ष भइरहेको छ । साथसाथै, सडक सुरक्षालाई सम्बोधन गर्नका लागि सरकारी पक्षबाटै गरिनुपर्ने कामलाई प्राथमिकता नदिई नागरिकलाई आर्थिक बोझ थप्न खोजेको आरोप पनि लागेको छ ।

विधेयकमार्फत सरकारले सडक सुरक्षा बढाउने उद्देश्य नै राखेकामा शंका छैन । ट्राफिक नियमको यथाशक्य पालना हुन सक्यो भने सडकका दुर्घटना स्वतः घट्दै जानेछन् । तर यस सन्दर्भको बहस दुर्घटना बढ्नुको कारणदेखि नै सुरु गरिनुपर्छ र त्यसैसँग तादात्म्यता मिलाउँदै न्यूनीकरणका कार्यक्रम लागू गरिनुपर्छ । दुर्घटना हुनुको कारणहरूलाई दुई भागमा विभाजन गर्न सकिन्छ– कमजोर पूर्वाधार र सुरक्षाका उपाय/नियम नअपनाउने प्रवृत्ति ।

नेपालका सडकका गुणस्तर र सुरक्षाका लागि अपनाइएका भौतिक प्रबन्ध साह्रै कमजोर छन् । विकट भूगोलका असुरक्षित सडक मात्रै होइन, राजधानी जोडिने सडककै अवस्था पनि दयनीय छ । ठूला सहरका ट्राफिक संकेतहरू प्रभावकारी छैनन् । ट्राफिक नियम पालना गराउने शैली वैज्ञानिक छैन । सडकका खाल्डाखुल्डी, मेटिएका जेब्राक्रसिङ, नबल्ने ट्राफिक लाइट, अस्पष्ट संकेत धेरै सहरका साझा समस्या हुन् । 

हिँड्दाहिँड्दै साँघुरिएर टुंगिने ‘फुटपाथ’ छन् वा कतिपय ठाउँमा छँदै छैनन् । व्यवहारिक समस्या अर्को पनि छ । जस्तो कि, कतिपय गाडी कालो सिसासहित आउँछन्, जसलाई हटाउन सकिँदैन । तर गाडीमा अपारदर्शी सिसा राखेमा एक लाख जरिवाना भनिएको छ । यस्तो अवस्थामा के गर्ने ? सरकारको पहिलो प्राथमिकतामा यस्ता पक्षमा सुधार र प्रष्ट पार्ने हुनुपर्ने थियो । सरकारले यसतर्फ खासै पहल गरेको सुनिँदैन ।

आफ्नो पक्षको जिम्मेवारी पूरा नगरेको सरकारले नागरिकमा आर्थिक भार सिर्जना गर्ने र उद्देश्य पूरा गर्ने रणनीति अख्तियार गर्न खोजेको विधेयकको मस्यौदाले संकेत गर्छ । के प्रस्ट हुन जरुरी छ भने, ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति नेपालका सडकमा धेरै छ । जसले सम्बन्धित व्यक्ति मात्रै होइन, अरूको पनि जीवनमा असुरक्षा थपिने गरेको छ । तसर्थ, सबैलाई ट्राफिक नियम पालना गराउने र सबैको जीवनलाई थप सुरक्षित बनाउने दायित्व सरकारको हो । तर, यसका लागि अवलम्बन गरिने कानुन व्यावहारिक भने हुनुपर्छ । कानुनले दुर्घटना घटाउने उद्देश्य बोक्नुपर्छ, नागरिकलाई भार थप्ने होइन ।

मस्यौदा विधेयक यही पाटोमा चुकेको छ । ठूला जरिवाना राख्दैमा कसुर घट्ने भन्ने हुँदैन । बरु व्यावहारिक जरिवाना र त्यसको कार्यान्वयनको सुनिश्चितता हुनुपर्छ । कानुन सबैका लागि बराबर लागू हुन्छ भन्ने विश्वासले कसुर घट्न मद्दत पुर्‍याउँछ । ठूलो सजाय छल्न घूस लेनदेन हुन सक्ने वा जरिवानाबाट बच्न जोखिमपूर्ण उपाय अवलम्बन हुने स्थिति निर्माण हुन सक्छ । 

विधेयकको मस्यौदाले सरकारको सकारात्मक पहलकदमीलाई प्रस्तुत गर्छ । तर, त्यहाँ उल्लिखित प्रावधान नागरिकको आर्थिक र सामाजिक परिवेश सुहाउँदो र कार्यान्वयनमा व्यावहारिक हुनुपर्छ । विधेयकमा यो पक्ष भने कमजोर देखिएको छ । नियतवश गरिने कसुर र त्यसले अन्य पक्षलाई पार्ने हानि बढी भएको वा हुने स्थितिमा तुलनात्मक रूपमा बढी सजाय प्रस्ताव गर्न सकिन्छ । तर, मानवीय कमजोरी वा अन्योलका कारण हुने घटना, जसले स्वयं वा अरू पक्षलाई खासै हानि पुग्दैन, त्यस्तो स्थितिमा पनि ठूलो दरको जरिवाना राख्न खोज्नु अव्यावहारिक छ ।

सरकारले बुझ्नुपर्छ, दुर्घटनालाई सहयोग पुग्ने गतिविधि न्यूनीकरणका लागि कठोर सजाय होइन, बरु जनचेतना बढी प्रभावकारी हुन्छ । यसमा सरकारको कमजोरी पहिल्यैदेखि छ । हुन त विधेयक अहिले मस्यौदाकै चरणमा छ । संसद्मा पुग्नुअघि पनि यसले धेरै प्रक्रिया र परीक्षणबाट पार हुनुपर्छ । त्यसक्रममै यसका प्रावधानलाई व्यावहारिक बनाउन सकिन्छ । मुख्यतः कानुन बनाउने जिम्मेवारी संसद्को हो । त्यसैले विधेयक संसद् पुगेपछि सांसदहरूले व्यावहारिक प्रावधान राख्न विवेक प्रयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।

दृष्टिकोण

युवाले बुझेको संघीयता

संघीयता कार्यान्वयनको सफलता कानुन र संरचनामा मात्र निर्भर हुादैन, विशेषतः युवालगायतसँग निरन्तर संवाद, सहकार्य र सचेतनामा पनि उत्तिकै निर्भर हुन्छ ।
- खिमलाल देवकोटा

जेन–जी विद्रोहताका मुलुकमा अन्योलता थियो । संविधान र व्यवस्था नै नरहने हो कि भन्ने चिन्ता थियो । अझ प्रदेशको विषयमा त बोल्नै/लेख्नै नहुनेसम्मको स्थिति थियो । संघीयता चाहिँदैन र प्रदेश फाल्नुपर्दछ भन्नेहरू सलबलाएका थिए । मुख्यतः सामाजिक सञ्जालमा संघीयता नै सबैभन्दा बढी तारोमा परेको देखिन्थ्यो । संघीयताका पक्षमा सामाजिक सञ्जालमा केही लेख्नासाथ खेदो खनिने स्थिति थियो । 

यस्तै स्थितिमा मैले जेन–जी अगुवाहरूसँग भलाकुसारी गरेको थिएँ । टेलिफोन संवाद गरेको थिएँ । कतिपय कार्यक्रममा मैले २००७ देखिका विविध खालका आन्दोलनका विषयमा जानकारी गराएको थिएँ । कहालीलाग्दो माओवादी, मधेश, आदिवासी–जनजाति लगायतको आन्दोलनका बारेमा भिडियोसमेत बनाएर देखाएको थिएँ । २०७२ को संविधानमा धेरै आन्दोलन र धेरैको रगत–पसिना बगेको बताएको थिएँ । बिस्तारै संघीयता आवश्यक रहेको ठान्नेहरू मुखरित हुँदै गए ।

यद्यपि, त्यतिबेला काठमाडौंमा रहेका जेन–जीको धारणा बढी सार्वजनिक भइरहेको थियो, काठमाडौंबाहिरका जेन–जी लगायतका युवाले संघीय शासन प्रणालीका विषयमा राख्ने धारणा खासै सार्वजनिक भएको थिएन । त्यस सम्बन्धमा कुनै अध्ययन भएको थिएन । छलफल र अन्तर्क्रिया पनि भएको थिएन । बन्द कोठाभित्र कसैले जेन–जीलगायतका युवाको धारणा बुझे होलान् । 

षड्यन्त्रका तानाबाना पनि बुने होलान् । तर, खुला रूपमा विश्लेषणात्मक दस्तावेज उपलब्ध थिएन । निर्वाचनको दौरानमा सामजिक सञ्जाल लगायतका सञ्चारमाध्यमले अनुमान गर्नु फरक विषय भयो ।

हालै संविधान र संघीयताप्रति देशका विभिन्न स्थानमा, विभिन्न भूमिकामा रहेका युवाका धारणा कस्तो छ भन्नेलगायतका विषयमा सातै प्रदेशका राजधानीमा पुगेर ४० वर्षभन्दा कम उमेर समूहका करिब ३५० युवासँग संवाद गर्ने अवसर मिल्यो । यो कार्यक्रमको समन्वय प्रदेशका मुख्यमन्त्री कार्यालयहरूले गरेका थिए । त्यहाँ भएको छलफलका आधारमा यो आलेख तयार गरिएको हो । यो आलेख मूलतः चार वटा विषयमा केन्द्रित छ । पहिलो– सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आउने गरेको ‘प्रदेश महँगो छ’ भन्ने विषय ।

अर्थात्, साँच्चिकै प्रदेश महँगो नै हो त भन्ने सबाल । दोस्रो– संघीयताले राज्यका निकायमा समावेशिता बढाएको छ वा छैन भन्ने विषय । तेस्रो– संघीयताले सरकारी सेवा जनताको घरदैलोमा पुर्‍याएको छ वा छैन भन्ने विषय । चौथो– संवादमा सहभागी भएपछि नेपालको संघीय शासनप्रणालीका बारेमा बुझाइ कस्तो रह्यो भन्ने विषय । चौथोबाहेकका प्रश्नको उत्तर संवादमा प्रवेश गर्नुभन्दा सुरुमा नै मोबाइल भोटिङ (मेन्टिमिटर) को माध्यमबाट लिइएको थियो ।  

समावेशिताको सन्दर्भमा, ८८.८५ प्रतिशत युवाले संघीयताका कारण राज्यका हरेक अंग र निकायमा समावेशिताले प्राथामिकता पाएको बताएका थिए । ४.४६ प्रतिशत युवा भने यसमा सहमत भएनन् । ६.६९ प्रतिशतले यस सम्बन्धमा केही पनि थाहा नभएको बताएका थिए । प्रदेशगत रूपमा सबैभन्दा बढी लुम्बिनी प्रदेश (९६.९७ प्रतिशत) का युवा सहमत थिए । सबैभन्दा कम सुदूरपश्चिम प्रदेश (७१.४३ प्रतिशत) को थियो ।

समावेशिता संविधानको महत्त्वपूर्ण खम्बा हो । ४१ प्रतिशत महिला स्थानीय सरकारमा छन् । ३५ प्रतिशत महिला संसद्मा छन् । महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्तिलगायत पछाडि परेका–पारिएका वर्ग र समुदायको पहुँच राज्यको हरेक अंग र निकायमा छ । अधिकार माग्नेहरू अधिकार दिने ठाउँमा छन् । यस्ता विषयमा युवामा जानकारी रहेको पाइन्छ ।

समावेशिताको पछाडि नेपालका महिलालगायतका वर्ग र समुदायहरूको ठूलो आन्दोलन र त्यागको भूमिका छ । धेरैले जेलनेल सहेका छन्, रगत–पसिना बगाएका छन् । यस्ता विषयमा युवाहरूलाई जानकारी गराउन भने जरुरी छ । समावेशिताका सम्बन्धमा जति उपलब्धि हुनुपर्ने हो, त्यति हुन सकेको छैन । प्राप्त उपलब्धिको जगेर्ना गर्दै थप उपलब्धिहरूका बारेमा युवालाई सुसूचित गराउने लगायतका कार्यक्रम आवश्यक छन् ।

८६.९१ प्रतिशतले सरकारी सेवा जनताको घरदैलोमा पुगेको धारणा राखेका थिए । प्रदेशगत रूपमा कर्णाली प्रदेशका शतप्रतिशत युवाहरू यसमा सहमत रहे । यसपछि गण्डकी प्रदेशको ९३.४८ प्रतिशत रह्यो । सबैभन्दा कम प्रतिशत (७१ प्रतिशत) सुदूरपश्चिमको थियो । सुदूरपश्चिम प्रदेशका २६ प्रतिशत युवाहरू यसमा सहमत भएनन्, तीन प्रतिशतले केही थाहा नभएको बताए ।

यसअघि सानोतिनो कामका लागि सदरमुकाम पुग्नुपर्थ्यो । काठमाडौं धाउनुपर्थ्यो । साबिकमा सदरमुकाममा केन्द्रित अधिकांश विषयगत कार्यालयहरू अहिले पालिकामा छन् । सिंहदरबारबाट कहिल्यै तल नगएका कर्मचारी पालिका र प्रदेशमा पुगेका छन् । सानोतिनो योजना तथा कार्यक्रमका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय धाउनुपर्थ्यो । अहिले यस्तो स्थिति छैन । कर्मचारी छन् । बजेट पुगेको छ । थरीथरीका कार्यालय छन् । द्वन्द्वका समयमा त गाउँघरमा बस्न सक्ने वातावरण पनि थिएन । राज्यका संरचनाहरू विस्थापित थिए । नागरिकका मनहरू चुँडिएका थिए । ‘काठमाडौं’ लाई समेत राम्रो निद्रा थिएन । अहिले मुलुकमा स्थायित्व छ । शान्ति छ ।

जनताको घरदैलोसम्म सरकारी सेवा पुगेका छन् । निश्चित रूपमा, जति पुग्नुपर्ने हो, त्यति पुग्न सकेको छैन । त्यसका पछाडि धेरै कारण छन् । जस्तो, संघीय सरकारले प्रदेश र स्थानीय तहको अधिकारको सम्मान गर्न सकेको छैन । बरु ती हाम्रा मातहतका हुन्, हामीले जे भन्यो त्यही गर्नुपर्छ भन्ने चिन्तन संघीय सरकारमा छ । कर्मचारी पनि हामीले खटाउनुपर्छ, कानुन पनि हामीले भनेअनुसार हुनुपर्छ, योजना तथा कार्यक्रमहहरू पनि हाम्रा खल्तीका हुनुपर्छ भन्ने किसिमको मानसिकता संघीय सरकार र पुराना पार्टीमा रहेका कारण अपेक्षित प्रगति हुन सकेन । तर जति भएको छ, त्यसबाट निराश नै हुनुपर्ने अवस्था पनि छैन ।

करिब ८७ प्रतिशत युवा जनताको घरदैलौमा सेवा पुगेकोमा सन्तुष्ट छन् । यसलाई सराहना नै गर्नुपर्छ । संविधानको भावनाअनुसार संघीय सरकारले सहजीकरण गरिदिएको भए प्रदेश र स्थानीय तहले धेरै काम गर्न सक्थे । तर, संघीय सरकार आफैंले पनि जनताको भावना अनुसार काम गर्न सकेन । जनतालाई केन्द्रविन्दुमा राखेर सेवाप्रवाह लगायतका काममा ध्यान दिएन । यस्तै कारणले नै जेन–जी विद्रोह भएको हो । अहिले बालेन शाह नेतृत्वको सरकारले पहिलो प्राथमिकतामा नै सुशासन र सेवा प्रवाहलाई राखेको छ । हिजोका कमजोरीलाई सच्याउने अवसर अहिलेको सरकारले प्राप्त गरेको छ ।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा प्रदेश संरचना महँगो भएको धारणा राख्नेहरू पनि छन् । यो आमनागरिकको प्रश्न पनि हो । यो प्रश्नलाई युवासँगको संवादको सुरुमा (विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि) नै सोध्दा ६७.९७ प्रतिशतले महँगो नै भएको विचार राखेका थिए । यो खासै अनौठो मानिनुपर्ने तथ्यांक थिएन । प्रदेश संरचनाको औचित्य र आवश्यकताका बारेमा प्रदेशका नागरिकलाई जानकारी गराउने काम पहिलो कार्यकालका मुख्यमन्त्रीलाई नै भन्दै आएको थिएँ । अहिले पनि मेरो भनाइ त्यही नै हुने गरेको छ । तर, यसमा प्रदेश सरकारहरू गम्भीर भएको पाइँदैन ।

करिब दुईतिहाइ युवाले प्रदेश संरचना महँगो भनेपश्चात् मैले संघीयताको वित्तीय पाटोमाथि संवाद गरें । नेपाल सरकार लगायतका तथ्यांक र प्रदेश संरचना पछाडिका राजनीतिक, आर्थिक, प्रशासनिक लगायतका विषयमा जानकारी गराएँ । जब तीनै तहका सरकारको कुल खर्च, पदाधिकारीहरू लगायतको कुल खर्चमा प्रदेशको हिस्सा (५ प्रतिशतभन्दा पनि कम) को विवरण उनीहरूले हेरे । विश्वस्त पनि भए ।

हल्ला गरिएजस्तो प्रदेश संरचना महँगो होइन रहेछ भन्ने बुझाइ बन्यो । यति हुँदाहुँदै पनि प्रदेश संरचनामा सुधार गर्न आवश्यक नै छैन, जे छ ठीक छ भन्ने मेरो आशय होइन । प्रशासनिक खर्चमा अझै व्यापक कटौती जरुरी छ । राष्ट्रिय सभाको संघीयता कार्यान्वयन अनुगमन संसदीय विशेष समितिले प्रदेशमा मन्त्रीको संख्या प्रदेशसभाको २० प्रतिशतबाट घटाएर ५ जनामा नघट्ने गरी १० प्रतिशतमा सीमित गर्नुपर्दछ भनेर सिफारिस गरेको थियो । प्रदेशमा अहिले अनावश्यक रूपमा धेरै संरचना बनाइएका छन् । थपिएका छन् । ती सबै संरचनालाई चुस्त बनाउनुपर्छ ।

प्रशासनिक, विकासलगायत तीनै तहको कुल खर्चमा प्रदेशको खर्च १० प्रतिशत पनि नभएको अर्थ मन्त्रालयबाट हालसालै प्रकाशित नेपालको वर्तमान आर्थिक स्थिति (श्वेतपत्र) मा छ । प्रदेशसभा, प्रदेश सरकारको कर्मचारी र पदाधिकारीहरूको कुल खर्च तीनै तहको कुल खर्चमा ५ प्रतिशत पनि छैन । विकास निर्माणसहित तीनै तहको कुल खर्चमा १० प्रतिशत पनि छैन । यसले प्रदेशको खर्च धेरै नभएको पुष्टि त गर्छ । तर, संविधानले प्रदेश विकासको वाहक हो, विकास निर्माणका काम प्रदेशबाट नै हुनुपर्छ भन्ने मान्यता राख्छ ।

कर्णालीको विकास कर्णाली सरकारले नै गर्ने हो । मधेशको विकास मधेश सरकारले नै गर्ने हो । सुदूरपश्चिमलगायतका प्रदेशको कानुनदेखि विकाससम्मको निर्माणका काम प्रदेशबाटै हुनुपर्छ । संघीयताको भावना पनि यही हो । संविधानमा यही लिपिबद्ध छ । यसो हुँदा प्रदेशका खर्चको ग्राफ माथि जान्छ । तर प्रदेशप्रति हेर्ने दृष्टिकोण संघीय सरकारको सही छैन । पुराना पार्टीले प्रदेशलाई राम्रोसँग काम गर्न नै दिएनन् । एकल अधिकार सूचीमा भएर पनि प्रहरीको अधिकारसमेत प्रयोग गर्न दिएनन् । 

प्रधानमन्त्रीले जनकपुरमा आयोजित पहिलो चुनावी सम्बोधनमा अधिकार माग्न काठमाडौं जाने हैन, घुम्न जाने हो भन्नुभएको थियो । प्रधानमन्त्रीको यो भनाइको मात्र कार्यान्वयन भएमा प्रदेश र स्थानीय तहले संविधानप्रदत्त अधिकारको प्रयोग गर्न पाउनेछन् । विकासले गति लिनेछ । प्रधानमन्त्रीले भनेजस्तै सरकारका केही गतिविधि प्रदेश र स्थानीय तहको पक्षमा पनि छन् । जस्तो प्रस्तावित निजामती कानुनमा सचिव र प्रमुख प्रशासकीय अधिकृतको खटनपटनको विषय, सिंहदरबारका मन्त्रालयको कटौती, अनावश्यक संरचनाहरू खारेज गर्ने पहल आदि । 

युवामा प्रदेशप्रतिको चिन्ता भनेको स्थायित्वसँग पनि सम्बन्धित छ । पटक–पटकको मुख्यमन्त्री परिवर्तन र मन्त्रिपरिषद्मा हुने हेरफेरका कारण प्रदेशप्रति नागरिकमा निराशा छ । योजना छनोट र कार्यान्वयनमा पनि प्रदेशले सुधार गर्नुपर्छ । मनमौजी तरिकाका योजनाको कार्यान्वयनप्रति युवामा आक्रोश छ । सांसदको नाममा जसरी योजना बाँडफाँट भइरहेको छ, यसमा पनि युवामा असन्तोष छ । आक्रोश छ । युवालगायत प्रदेशका नागरिकलाई प्रदेशप्रति भरोसा र विश्वास दिलाउने काम प्रदेशको हो । यसमा प्रदेशहरू नै गम्भीर हुनुपर्छ । यही पाराले प्रदेश चल्न सक्दैन । काम गर्ने तौरतरिकामा व्यापक सुधार आवश्यक छ । 

संवादको अन्त्यमा सहभागी युवासँग नेपालको संघीय शासन प्रणालीप्रतिको बुझाइबारे प्रश्न गरिएको थियो । प्राप्त प्रतिक्रियाले संवादको प्रभावकारिता देखायो । ८१ प्रतिशत युवाले संघीय शासन प्रणालीबारे बुझाइ राम्रो भएको बताए, १२ प्रतिशतले सिकाइ अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिए । केवल ७ प्रतिशतले सामान्य स्तरको जानकारी प्राप्त भएको उल्लेख गरे । तथ्य, प्रमाण र खुला संवादका आधारमा गरिने छलफलले सामाजिक सञ्जाललगायतमा फैलिएका भ्रम हटाउन, संविधान र संघीयताप्रति विश्वास बढाउन तथा युवालाई सही जानकारीसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्दोरहेछ भन्ने पुष्टि हुन्छ ।

त्यसैले संघीयता कार्यान्वयनको सफलता कानुन र संरचनामा मात्र निर्भर हुँदैन, विशेषतः युवालगायतसँग निरन्तर संवाद, सहकार्य र सचेतनामा पनि उत्तिकै निर्भर हुन्छ ।

दृष्टिकोण

मह : ग्रामीण समृद्धिको आधार

अहिले महलाई आक्रामक रूपमा बजारमा बेच्न थालिएको छ । आयातित ब्रान्डहरू स्थानीय महसँग प्रतिस्पर्धा गरिरहेका छन् । सामाजिक सञ्जालमा ‘म्याड हनी’ जस्ता विशेष महलाई निकै चर्चित बनाइन्छ ।
- प्रयन पोखरेल

मानव इतिहासकै सबैभन्दा पुरानो मिठासयुक्त खाद्य पदार्थमध्ये एक हो– मह । परिस्कृत चिनी भान्सामा भित्रिनु धेरै अघिदेखि नै मानिसहरू मिठास र ऊर्जा पाउन महमै भर पर्थे । तर, मह चिनी घोलिएको पानी होइन । मौरीले फूलबाट रस संकलन गर्छन् र त्यसलाई आफ्नै एन्जाइमको मद्दतले, पानीको मात्रा घटाउँदै, घारभित्र भण्डारण गर्ने प्रक्रियामार्फत महमा रूपान्तरण गर्छन् । अन्त्यमा बन्ने महमा चिनी मात्रै हुँदैन । त्यसमा थोरै खनिज, भिटामिन, एन्जाइम र फूल–बोटबिरुवाबाट आएका अन्य उपयोगी तत्त्व पनि हुन्छन् । त्यसैले मह साधारण मिठासभन्दा फरक र खास मानिन्छ ।

देशका विभिन्न ठाउँबाट संकलित महमाथिका अनुसन्धानले यसमा प्राकृतिक चिनीको उचित मात्रा, शरीरका लागि फाइदाजनक एन्टिअक्सिडेन्ट तत्त्व र जीवाणु रोक्ने गुण पाइने देखाएका छन् । केही अनुसन्धानले त हानिकारक ब्याक्टेरियाको वृद्धि रोक्ने क्षमतासमेत देखाएका छन्, जसले गर्दा घाउ हुँदा वा घाँटी दुख्दा मह प्रयोग गर्ने पुरानो चलन किन बस्यो भन्ने बुझ्न सजिलो हुन्छ । 

महमा कस्ता उपयोगी तत्त्व हुन्छन् भन्ने कुरा मौरीले कुन फूलबाट रस ल्याएको हो, त्यसमा भर पर्छ । प्रायः वनजंगल वा जंगली बोटबिरुवाबाट संकलन गरिने गाढा रङको महमा शरीरका लागि फाइदाजनक एन्टिअक्सिडेन्ट तत्त्व अलि बढी पाइन्छ । यी तत्त्वले शरीरभित्र हुने हानिकारक असर कम गर्न मद्दत गर्छन् । त्यसैले यस्ता महले उमेर बढ्दै जाँदा हुने क्षति घटाउन र दीर्घरोगसँग जोडिने जोखिम कम गर्न सहयोग पुर्‍याउँछ ।

अहिले महलाई आक्रामक रूपमा बजारमा बेच्न थालिएको छ । आयातित ब्रान्डहरू स्थानीय महसँग प्रतिस्पर्धा गरिरहेका छन् । सामाजिक सञ्जालमा ‘म्याड हनी’ जस्ता विशेष महलाई निकै चर्चित बनाइन्छ । स्वास्थ्य र जीवनशैलीका इन्फ्लुएन्सरले महलाई तौल घटाउनेदेखि पाचन, निद्रा, रोग प्रतिरोधक क्षमता र झन्डै सबै समस्याको समाधानजस्तै गरी प्रचार गर्छन् । तर, आधुनिक खेतीपाती भने झन् रासायनिक औषधिमा निर्भर हुँदै छ, जसको असर मौरी र अन्ततः महको गुणस्तरमै पर्ने खतरा बढ्दो छ ।

नेपाली उत्पादनमध्ये अन्तर्राष्ट्रिय जगत्मा यति चर्चा पाएको अर्को वस्तु सायद कमै होला, जति म्याड हनीले पाएको छ । सामाजिक सञ्जालमा विदेशी पर्यटक नेपाल आएर डाँडाकाँडा चढ्दै मह चाख्ने र त्यसपछि नशाजस्तो असर परेको दृश्य देखिन्छ । यसको मूल्य पनि बढ्दै गएको छ र मह संकलनका यात्रालाई अहिले साहसिक पर्यटनका रूपमा प्रचार गर्न थालिएको छ । तर, म्याड हनी अनौठो, रमाइलो वस्तु मात्रै होइन । केही प्रकारका गुराँसका फूलबाट संकलन गरिएको रसमा पाइने ग्रायानोटोक्सिन नामका प्राकृतिक विषाक्त तत्त्व यसमा मिसिएको हुन्छ । यी तत्त्वले स्नायु प्रणालीमा असर गर्छन् । धेरै खाइयो भने टाउको घुम्ने, पसिना आउने, बान्ता हुने, रक्तचाप घट्ने र मुटुको धड्कन सुस्त हुने समस्या देखिन सक्छ । कतिपय अवस्थामा उपचारका लागि अस्पतालसम्म पुग्नुपर्ने हुन सक्छ । 

परम्परागत रूपमा स्थानीय समुदायले म्याड हनीलाई औषधीय प्रयोजनका लागि निकै सानो मात्रामा, सावधानीपूर्वक प्रयोग गर्थे । यसलाई कहिल्यै सामान्य रूपमा वा रमाइलोका लागि खाने चलन थिएन । उता, चट्टानमा झुन्डिएर र ज्यान जोखिममा राखेर मह संकलन गर्छन् मान्छेहरू । उनीहरूका लागि यो मनोरञ्जन होइन, जीविकोपार्जन र सांस्कृतिक परम्परा हो । तर, सामाजिक सञ्जालमा मह खाएपछि देखिन सक्ने स्वास्थ्य आपत्कालीन अवस्थाबारे कमै देखाइन्छ । पर्याप्त जानकारीबिनै ‘म्याड हनी’ लाई केवल रोमाञ्चक वस्तुका रूपमा प्रचार गर्दा मानव सुरक्षासँगै सांस्कृतिक अर्थसमेत बिग्रिने जोखिम हुन्छ । 

गाउँघरको मह र बजारमा पाइने मह सधैं एउटै हुँदैन । आजकाल सहरका धेरै उपभोक्ता प्याकेट वा बोतलमा बन्द मह किन्ने गर्छन् । ती बोतलमा ‘शुद्ध’, ‘अर्गानिक’ र ‘स्वास्थ्यका लागि फाइदाजनक’ लेखिएको हुन्छ । तर, वास्तविकता सधैं त्यति सरल हुँदैन ।

महको गुण कति राम्रो रहन्छ ? यो विषय यसलाई कसरी प्रशोधन गरियो र कति समयसम्म राखियो भन्नेमा भर पर्छ । महलाई धेरै तताइयो वा धेरै दिन राखियो भने त्यसको गुण बिस्तारै घट्न सक्छ । यस्तो बेला महभित्र ‘पुरानो भएको’ देखाउने केही रासायनिक संकेत बढ्छन् । तीमध्ये एक संकेत हाइड्रोक्सिमिथाइलफर्फुराल (एचएमएफ) हो, जुन धेरै तताइएको वा लामो समय राखिएको महमा बढी देखिन सक्छ । केही अनुसन्धानले बजारमा पाइने केही व्यावसायिक महमा यस्तो संकेत बढी भेटिएको देखाएको छ । यसले मह धेरै तताइएको वा लामो समय भण्डारण गरिएको हुन सक्ने अनुमान दिन्छ ।

अर्को समस्या मिलावटको हो । कहिलेकाहीँ महको मात्रा बढाउन चिनीको झोल वा अन्य मिठास मिसाइने गरेको पाइन्छ । उपभोक्ताले स्वादबाट मात्रै यस्तो कुरा सजिलै थाहा पाउन सक्दैनन् । यसले बिस्तारै बजारप्रतिको विश्वास घटाउँछ र इमानदार मौरीपालकलाई घाटा पुर्‍याउँछ । विडम्बना के छ भने, आज धेरै सहरिया उपभोक्ता आयातित महका लागि महँगो मूल्य तिर्छन्, तर आफ्नै गाउँघरका मौरीपालक भने शुद्ध मह उचित मूल्यमा बेच्न संघर्ष गरिरहेका छन् । भरपर्दा स्थानीय उत्पादकलाई समर्थन गर्नु महको गुणस्तर जोगाउनु मात्रै होइन, गाउँको जीविकोपार्जनलाई पनि साथ दिनु हो ।

महबारे कुरा गर्दा कमै चर्चा हुने अर्को विषय विषादी हो । आधुनिक खेतीपातीमा बाली जोगाउन र उत्पादन बढाउन रासायनिक विषादीको प्रयोग बढ्दो छ । मौरी भने टाढाटाढासम्म उडेर खेतबारी, बगैंचा र जंगली बोटबिरुवाबाट रस र पराग संकलन गर्छन् । यस क्रममा उनीहरू विषादीका अवशेषसँग पनि सम्पर्कमा पुग्छन् । विभिन्न देशमा गरिएका वैज्ञानिक अध्ययनले मौरी र घारका उत्पादनमा खेतीपातीमा प्रयोग गरिएका विषादीका अवशेष मिसिएको देखाएका छन् । 

विषादीको असरले मौरीको स्मरणशक्ति, बाटो चिन्ने क्षमता र रोगसँग लड्ने शक्ति कमजोर हुन सक्छ, जसकारण विश्वभर मौरीको संख्या घट्ने समस्या देखिएको छ । मानिसका लागि पनि खाद्य पदार्थमार्फत लामो समयसम्म यस्ता रसायन शरीरमा पुगिरहनु चिन्ताको विषय हो, विशेषगरी बालबालिकाका लागि । मौरीलाई वातावरणको संकेत दिने जीव पनि मानिन्छ । यदि घारका उत्पादनमा प्रदूषण देखिन्छ भने त्यसले वरपरको कृषि वातावरणमै समस्या रहेको संकेत दिन्छ । त्यसैले महको गुणस्तर अनुगमन गर्नु वातावरणको स्वास्थ्य बुझ्नु पनि हो । मौरी जोगाउनु मह उत्पादन बचाउनु मात्रै होइन । धेरै बाली मौरीद्वारा हुने परागसेचनमा निर्भर हुन्छन् । यदि मौरीको संख्या घट्यो भने कृषि उत्पादनमै असर पर्न सक्छ ।

आजकालको बजार र प्रचारमा महलाई झन्डै सबै रोगको औषधिजस्तो देखाइन्छ । तर, वास्तविकता फरक र सन्तुलित छ । महले घाँटी दुख्दा र खोकी लाग्दा राहत दिन सक्छ । यसमा जीवाणु रोक्ने गुण पनि हुन्छ, जसले घाउको हेरचाहमा केही हदसम्म मद्दत पुर्‍याउन सक्छ । महमा पाइने एन्टिअक्सिडेन्ट तत्त्वले समग्र स्वास्थ्यका लागि फाइदा पुर्‍याउन सक्छ । परिष्कृत चिनीको सट्टा सीमित मात्रामा मह प्रयोग गर्नु पनि केही हिसाबले राम्रो हुन सक्छ । तर, महमा चिनीको मात्रा धेरै नै हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । धेरै खाँदा शरीरमा क्यालोरी बढ्छ र मेटाबोलिज्मसँग सम्बन्धित समस्या देखिन सक्छ । 

मधुमेह भएका व्यक्तिले मह प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ । गम्भीर संक्रमणको उपचारमा महले एन्टिबायोटिकको ठाउँ लिन सक्दैन, न त दीर्घरोग नै निको पार्न सक्छ । परम्परागत नेपाली चलनमा महको प्रयोग पहिले नै सन्तुलित थियो । दैनिक धेरै खाने चलन थिएन, आवश्यक परेका बेला मात्रै प्रयोग गरिन्थ्यो । 

नेपालमा हरेक वर्ष हजारौं टन मह उत्पादन हुन्छ, तर यसको सम्भावनाको तुलनामा यो क्षेत्र अझै राम्रोसँग विकास हुन सकेको छैन । धेरै मौरीपालकले आवश्यक तालिम, आधुनिक उपकरण वा स्थिर बजारको पहुँच पाएका छैनन् । महको गुणस्तर जाँच्ने र प्रमाणित गर्ने प्रणाली अझै सीमित छ । तर, नेपालको प्राकृतिक विविधताले उच्च गुणस्तरका विभिन्न प्रकारका मह उत्पादन गर्ने ठूलो सम्भावना दिएको छ । दिगो तरिकाले मौरीपालन गर्दा वनजंगल जोगाउन मद्दत पुग्छ र वातावरणलाई क्षति नपुर्‍याई आम्दानीको स्रोत पनि बन्छ । स्वस्थ वातावरणमा मौरी राम्रोसँग हुर्किन्छन् र मौरीले बाली उत्पादनलाई पनि सहयोग पुर्‍याउँछन् । 

यदि नीति सुधार, अनुसन्धानमा लगानी, मौरीपालकलाई तालिम, विषादी प्रयोगको उचित नियमन र बजारमा पारदर्शिता बढाउन सकियो भने मह उत्पादन ग्रामीण आर्थिक विकासको बलियो र सुनौलो आधार बन्न सक्छ ।

Page 7
दृष्टिकोण

कसरी ध्वस्त पारियो सामुदायिक विद्यालय ?

दशकौंदेखि शिक्षा सेवा आयोगमार्फत स्थायी नियुक्ति नगरीकनै योग्य व्यक्ति पाखा लगाएर राजनीतिक भागबन्डामा वा घूस खाएर राहत, निजी स्रोत अनि करारका शिक्षक नियुक्त गर्ने प्रवृत्तिले सामुदायिक विद्यालयको शिक्षा सत्यनाश पारेको छ । 
- भोला पासवान

विनाशको धरातलीय यथार्थ

नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । ‘आधारभूत शिक्षा नि:शुल्क र अनिवार्य हुनेछ, माध्यमिक शिक्षा नि:शुल्क हुनेछ’ भन्ने संवैधानिक प्रत्याभूति राज्यले दिएको छ । तर, आजको यथार्थ फरक छ– देशैभर लगभग ७० लाख विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । तिनका लागि वार्षिक करिब २ सय ११ अर्ब रुपैयाँ शिक्षामै खर्च हुन्छ । तर, परिणाम ? सामुदायिक विद्यालयका ४–५ कक्षासम्मका आधा विद्यार्थी कखरा, १–२–३ देखि एबीसीडीसम्म पनि राम्रोसँग जान्दैनन् । यो दुर्दशा विद्यालयमा मात्रै सीमित छैन– उच्च शिक्षाका विश्वविद्यालयमा पनि शैक्षिक क्यालेन्डर पालना नहुने र  परीक्षामा व्यापक अनियमितता हुने गरेको छ । फलस्वरूप ‘पढे–लेखेका’ तर श्रम बजारको मागअनुसार कामै नलाग्ने मानिसको भीड उत्पादन गरिँदै छ ।

महत्त्वपूर्ण तथ्य

सामुदायिक विद्यालयमा भर्ना संख्या निरन्तर घट्दो छ । शिक्षा मन्त्रालयको रिपोर्ट– २०८२ अनुसार ४० प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा पूर्णकालीन प्रधानाध्यापक छैनन् । नेपालका सामुदायिक विद्यालयमा जम्मा १ लाख ८० हजार १ सय ३ शिक्षक छन् । यीमध्ये ८९ हजार २ सय १४ (करिब ४९ प्रतिशत) मात्रै स्थायी शिक्षक हुन् । बाँकी ९० हजार ८ सय ८९ शिक्षक राहत, निजी स्रोत, करार र अन्य अस्थायी प्रकृतिका छन् ।न विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर पालना हुन्छ, न परीक्षा नियमित ! फलस्वरूप देशले ‘पढे–लेखेका’, तर श्रम बजारको मागअनुसार कामै नलाग्ने मानिसको भीड उत्पादन गर्दै छ । 

दशकौंदेखि शिक्षा सेवा आयोगमार्फत स्थायी नियुक्ति नगरेर, योग्य व्यक्तिलाई पाखा लगाएर राजनीतिक भागबन्डामा र घूस खाएर राहत, निजी स्रोत र करारका शिक्षक नियुक्त गर्ने प्रवृत्तिले सामुदायिक विद्यालयको शिक्षा सत्यनाश पारेको छ । अर्कोतर्फ, राज्यले योग्य जनशक्ति नै नभएर अस्थायीको सहारा लिनुपरेको हो भन्ने तर्क गर्ने ठाउँ कतै देखिँदैन । शिक्षक सेवा आयोगको विगत चार वर्ष (आव २०७९/८० देखि २०८२/८३ सम्म) को तथ्यांक हेर्ने हो भने माध्यमिक र निम्नमाध्यमिक दुवै तह गरी शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि कुल ७ लाख ४६ हजार १ सय २ जना युवाले दरखास्त दिएका थिए । तीमध्ये कडा प्रतिस्पर्धा पार गर्दै १ लाख ५२ हजार ८४ जना योग्य जनशक्ति उत्तीर्ण भई प्रमाणपत्र लिएर बसेका छन् । यस तथ्यांकले बजारमा शिक्षणका लागि इजाजत प्राप्त डेढ लाखभन्दा बढी दक्ष जनशक्ति जुनसुकै बेला सेवा गर्न तयारी अवस्थामा रहेको प्रमाणित गर्छ । यति ठूलो संख्यामा लाइसेन्स प्राप्त र प्रतिस्पर्धी युवा सडकमा बेरोजगार भइरहँदा, विद्यालयमा भने आधाभन्दा बढी शिक्षक अस्थायी र राहतकै भरमा टिकाइराख्नु नीतिगत विचलन र राज्यको व्यवस्थापकीय उदासीनताको पराकाष्ठाबाहेक केही हुन सक्दैन ।

एसईई परीक्षाफलको समीक्षा

२०७१ देखि एसएलसीलाई एसईई भन्न थालियो । हरेक वर्ष कक्षा १० को यो परीक्षामा करिब ५ लाख नियमित र आंशिक विद्यार्थी सहभागी हुन्छन् । देशैभर करिब २ हजार परीक्षा केन्द्र रहन्छन् ।

केही वर्षयता परीक्षामा उत्तीर्ण प्रतिशत सुधारिएको देखिन्छ । तर, सामुदायिक र निजी विद्यालयको परिणाममा ठूलो खाडल छ । सामुदायिक विद्यालयको उत्तीर्ण दर सधैं निजी विद्यालयभन्दा निकै न्यून रहन्छ । ‘राष्ट्रिय विद्यार्थी उपलब्धि मूल्यांकन’ अनुसार, कक्षा ८ का एक तिहाइ विद्यार्थीको गणितमा न्यूनतमस्तरको ज्ञान छ भने कक्षा ५ का आधाभन्दा बढी विद्यार्थी नेपालीमा शुद्ध वाक्य लेख्न जान्दैनन् ।

आन्तरिक मूल्यांकनमा मनपरी

विद्यालयहरूले आन्तरिक मूल्यांकनमा ‘ए–प्लस’ वा ‘ए’ दिने तर अन्तिम परीक्षामा ती विद्यार्थी ३५ प्रतिशत नै ल्याउन नसकी फेल हुने प्रवृत्ति व्यापक छ । यो तथ्य विद्यार्थीको मार्कसिट हेर्दै थाहा हुन्छ । यो अनियमितता रोक्न नयाँ कानुन बनाउनु पर्दैन, सम्बन्धित प्रधानाध्यापकलाई ग्रेड रोक्ने अन्य कारबाहीको व्यवस्था भएका विद्यमान कानुन कार्यान्वयन गरे पुग्छ ।

सामुदायिक विद्यालयको दयनीय अवस्थाको कारण

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर किन दयनीय छ ? यसका मुख्य कारण निम्न छन् :

क) राजनीतिक हस्तक्षेप र ‘सुपर हेड मास्टर’ को हालीमुहाली

सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापकभन्दा शक्तिशाली राजनीतिक दलका ‘सर’ हुन्छन्, जसले हेडमास्टरलाई पनि नियन्त्रण गर्छन् । स्थानीय नेताको हस्तक्षेपमा शिक्षक नियुक्ति, सरुवा र पदस्थापन गरिन्छ । यो विशेषगरी मधेशमा ‘सुपर हेड मास्टर’ प्रणालीका रूपमा व्यापक छ ।

ख) अयोग्य र अस्थायी शिक्षकको बाहुल्य

आधाभन्दा बढी शिक्षक राहत, निजी स्रोत वा करारका छन्, जसको योग्यता र जवाफदेहिता छैन । योग्यता परीक्षण गरेर, सेवा आयोग पास गरेर नियुक्त भएका होइनन् यस्ता शिक्षक । राजनीतिक पार्टी, निजी पहुँच, घूस आदिका आधारमा शिक्षक बनेकाको योग्यतामाथि प्रश्न उठ्नु स्वाभाविक हो । निजी विद्यालयमा पनि कतिपय ठाउँमा कक्षा १० पास गरेकाले कक्षा ८–९–१० सम्मै पढाउने गरेको पाइन्छ ।

ग) कक्षामा विद्यार्थीको न्यून उपस्थिति

भर्ना भएकामध्ये आधाजति विद्यार्थी कहिल्यै कक्षामा उपस्थित हुँदैनन् । तराईमा यस्तालाई ‘स्लिपिङ’ विद्यार्थी भनिन्छ । कक्षामा नआएर आन्तरिक मूल्यांकनमा मात्रै ‘हाजिर’ हुनेहरू छन् । 

यसको ज्वलन्त उदाहरण केही दिनअघिको एउटा शुक्रबार सप्तरीका दुई स्थानीय तह (विष्णुपुर गाउँपालिका र कञ्चनरूप नगरपालिका) का ९ वटा सामुदायिक विद्यालयमा गरिएको स्थलगत अनुगमनको तथ्यांकले छर्लङ्ग पार्छ । अनुगमन गरिएका विद्यालयहरूमा कुल २ हजार २ सय ८ जना विद्यार्थी सामुदायिक रजिस्टरमा दर्ता (भर्ना) भएको भेटियो । तर, शुक्रबारको त्यो दिन कक्षाकोठामा केवल १ हजार ३ सय १३ जना मात्रै उपस्थित थिए । यसले देखाउँछ– कुल भर्ना भएका बालबालिकामध्ये ४०.५४ प्रतिशत विद्यार्थी अर्थात् झन्डै आधा ‘स्लिपिङ’ अवस्थामा छन्, जो केवल कागजमा सीमित छन् तर विद्यालयको चौघेराभित्र पाइलै टेक्दैनन् । यो तथ्यांकले प्रमाणित गर्छ– कञ्चनरूप नगरपालिकाका विद्यालयहरूमा ‘स्लिपिङ’ विद्यार्थीको दर अझ भयानक छ, जहाँ ४३.९४ प्रतिशत विद्यार्थी कक्षामा अनुपस्थित रहेर केवल आन्तरिक मूल्यांकन र मार्कसिटको पर्खाइमा बसेका छन् । विष्णुपुर गाउँपालिकामा पनि झन्डै ३९ प्रतिशत विद्यार्थी विद्यालय आउँदैनन् ।

यी तथ्यांकले स्पष्ट पार्छ– तराईका रैथाने दलित, सीमान्तकृत र ज्यालादारीमा आश्रित विपन्न परिवारका बालबालिका घरायसी बाध्यता र चेतनाको अभावले विद्यालय आउनै छाडेका छन् । नाम रजिस्टरमा रहने तर कक्षाकोठा सधैं रित्तै रहने यो ‘स्लिपिङ’ रोगले अन्तत: सामुदायिक शिक्षाको गुणस्तरलाई दिनानुदिन सरकारी अनुदान पचाउने माध्यम मात्रै बनाइरहेको छ ।

घ) परीक्षामा व्यापक अनियमितता

‘सेन्टरसेटिङ’, ‘फ्ल्याप’ र कापी जाँचमा अनियमितताले नपढेकाले पनि पास हुने मौका पाउँछन् । एउटै परीक्षा केन्द्रका अधिकांश विद्यार्थीको उत्तर एउटै भए पनि सबैलाई पास गराउने प्रवृत्ति छ ।

ङ) दोहोरो भर्ना र गैरकानुनी अभ्यास

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको पूर्ण जिम्मेवारी स्थानीय तहको एकल अधिकार सूचीमा राखेको छ । तर, विडम्बना ! स्थानीय जनप्रतिनिधि स्वयं सामुदायिक विद्यालयको अवस्था सुधार्न गम्भीर देखिएका छैनन् । देशका औंलामा गन्न सकिने केही सामुदायिक विद्यालयले उदाहरणीय कार्य गरे पनि संख्यात्मक रूपमा त्यो नगण्य छ ।

अहिले देशैभरि एउटा नयाँ प्रकृतिको शैक्षिक अपराध संस्थागत भइरहेको छ, त्यो हो– ‘दोहोरो भर्ना र कागजी विद्यार्थी’ । हुने–खाने र पहुँचवाला परिवारले आफ्ना बालबालिकालाई महँगो शुल्क तिरेर निजी (बोर्डिङ) विद्यालयमा पढाउँछन् । तर, सरकारी सेवा–सुविधा र छात्रवृत्ति हत्याउन तथा एसईईमा सरकारी कोटाको फाइदा लिन उनीहरू बालबालिकाको नाम सामुदायिक विद्यालयको (एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली) मा दर्ता गराउँछन् । निजीमा पढ्ने तर सामुदायिक विद्यालयबाट परीक्षा दिने यो प्रवृत्ति कानुनी अपराध मात्रै होइन, समग्र समाज र राष्ट्रकै भविष्यमाथिको ठूलो घात हो ।

अर्कोतर्फ, अनुमतिबिना कक्षा थप गर्ने निजी विद्यालयको दादागिरी उत्तिकै छ । कक्षा ५ वा ६ सम्म मात्रै सञ्चालनको अनुमति लिएका कतिपय निजी विद्यालयले अवैध रूपमा कक्षा १० सम्म पढाइरहेका छन् । यो गैरकानुनी हर्कत लुकाउन उनीहरूले माथिल्लो कक्षाका विद्यार्थीलाई नजिकैको सामुदायिक विद्यालयमा ‘कागजी–भर्ना’ गराएर परीक्षा दिन लगाउने गरेका छन् ।

यस महाअपराधमा स्वयं जनप्रतिनिधि, सामुदायिक विद्यालयका व्यवस्थापन समिति, शिक्षक र स्थानीय शक्ति संरचनामा पकड भएका व्यक्तिको बलियो साँठगाँठ (नेक्सस) छ । आफ्नो ‘भोटबैंक’ गुम्ने र चुनाव हारिने डरले धेरैजसो स्थानीय नेतृत्व यो शैक्षिक माफियातन्त्रमाथि हात हाल्न र नियमन गर्न डराइरहेका छन् ।

च) शिक्षामा राष्ट्रिय लगानीको दुरुपयोग

२५ हजार ६ सय २३ सामुदायिक विद्यालयमध्ये ४ सय २२ विद्यालयलाई मात्रै ‘मोडलस्कुल’ बनाउने कार्ययोजना अवैज्ञानिक छ । विद्यालय शिक्षामा वार्षिक १ सय ४५ अर्ब रुपैयाँको लगानी सदुपयोग नभएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले देखाएको छ । 

उच्च शिक्षाको उस्तै हालत

त्रिभुवन विश्वविद्यालय नेपालकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । सन् १९५९ मा स्थापना भएको यो विश्वविद्यालयमा हाल ४ लाख ६० हजार ६ सय ३२ विद्यार्थी र ७ हजार ८ सय ३८ शिक्षक छन् । यसको बजेट २६.१६९ अर्ब रुपैयाँको छ । यो विश्वविद्यालयले ‘गिनिज वर्ल्ड रेकर्ड’ पनि राखेको छ– एउटै दीक्षान्त समारोहमा ७३ हजारभन्दा बढी विद्यार्थीले डिग्री पाएको रेकर्ड । तर, यही विश्वविद्यालयमा अरू पनि कीर्तिमान छन् :

– ३ वर्षको पढाइ सक्न ५ वर्ष लगाइन्छ । शैक्षिक क्यालेन्डर पालना हुँदैन ।

– एमबीएस (व्यवस्थापन) को सीएमएटी परीक्षामा एक पटक पर्याप्त विद्यार्थी नपाएर दुई पटक लिनुपरेको थियो । 

– विद्यार्थी नभएर एमबीएम कार्यक्रम बन्द भएको थियो ।

– एमबीए मार्केटिङ र एमबीए कर्पोरेट लिडरसिप ७५ प्रतिशत क्षमतामा मात्रै सञ्चालित छन् ।

– २१ वटा आंगिक क्याम्पस मर्जरको सम्भावनामा छन् ।

– पाठ्यक्रम पुरानो र श्रम बजारको मागअनुरूप छैनन् ।

जागिरे विद्यार्थीका बदमासी

नेपालमा सरकारी जागिरमा कार्यरत हजारौं व्यक्ति एकै समय एउटा कार्यालयमा हाजिर हुँदै सयौं किलोमिटर टाढाका निजी कलेजमा पनि ‘नियमित विद्यार्थी’ भएर प्रमाणपत्र हात पार्दै छन् । विश्वविद्यालयका नियम कानुनअनुसार, कक्षामा कम्तीमा ७० प्रतिशत उपस्थिति अनिवार्य छ । यसका लागि गरिन्छ यो गैरकानुनी काम :

– जागिरमा माथिल्लो तहको प्रमाणपत्र आवश्यक पर्छ,

– कुनै निजी कलेजमा नाम लेखाउने,

– कक्षामा कहिल्यै नगई परीक्षामा मात्रै ‘सेन्टरसेटिङ’ मार्फत पास हुने

भ्रष्टाचारको यो प्रमाण खोज्न एक साताभन्दा बढी लाग्दैन । जागिरेको ‘जागिर अवधि’ र ‘प्रमाणपत्रको मिति’ मिलाएर जाँच्दा सबै खुल्छ । दसौं हजार यस्ता ‘नक्कली’ डिग्रीधारी सरकारी सेवामा छन् । खोजेर कारबाही गर्ने काम सरकारकै हो । 

परीक्षामा अनियमितता

विश्वविद्यालय र आंगिक/सम्बन्धन प्राप्त कलेजका परीक्षामा व्यापक अनियमितता हुने गरेको छ :

– अधिकांश निजी कलेजमा ‘होमसेन्टर’ दिइन्छ, आफ्नै परिसरमा परीक्षा, त्यसपछि नतिजा स्वाभाविक रूपमा उच्च भइहाल्छ ।

– ‘सेन्टर–सेटिङ’ र ‘फ्ल्याप’ को चलन व्यापक छ, सरकारले छद्म रूपमा अनुगमन गर्नुपर्छ । 

– कापी जाँच र ‘स्क्रुटिनी’ मा व्यापक मनपरी छ ।

– कम्तीमा ७० प्रतिशत कक्षामा उपस्थिति अनिवार्य कानुनी व्यवस्था भए पनि कलेजहरूमा हाजिरीको चलन प्राय: छैन ।

गरिबविरुद्ध अपराध : शिक्षामा वर्ग–विभाजन

नेपालमा शिक्षा क्षेत्रमा सामाजिक न्यायको गम्भीर उल्लंघन भइरहेको छ :

– ‘हुनेखाने’ ले बच्चा निजी विद्यालयमा पढाउने तर ‘ईएमआईएस’ सामुदायिकमा राख्ने र एसईई सामुदायिक स्कुलबाट दिलाउने

– उच्च शिक्षाका सरकारी छात्रवृत्ति धनीका सन्तानले हात पार्ने, गरिब सधैं पछाडि पर्ने

– ५–६ कक्षाको स्वीकृति लिएर १० सम्म पढाउने र निजी विद्यालयका विद्यार्थीको ‘ईएमआईएस’ नजिककै सामुदायिक विद्यालयमा गराउने । यसरी सरकारी स्रोत गरिबका नाममा धनीका लागि खर्च गरिँदै छ । यो गरिब नागरिक र राष्ट्र दुवैलाई ठग्ने गम्भीर ‘संरचनागत अपराध’ हो ।

कार्यान्वयन नहुने कानुन

नेपालमा शिक्षा सुधारका लागि पर्याप्त कानुनी आधार विद्यमान छन् । यी कानुनी प्रावधान कागजमा राम्रा छन् तर समस्या कार्यान्वयनमा छ । उदाहरणका लागि ‘स्वीकृतिभन्दा माथिको कक्षा सञ्चालन नगर्नू’ भन्ने निर्देशन सरकारबाट आए पनि देशैभर यो अपराध जारी छ । र, तराईका जिल्लामा अझ व्यापक छ । रोक्ने जिम्मेवारी पाएका सरकारी निकाय, स्थानीय तह र विद्यालय सञ्चालक सबै मिलेका छन्, ती चुपचाप छन् । 

यो र यस्ता समस्या समाधानको मुख्य सन्देश हो– शिक्षाको गुणस्तर सुधार गर्न नयाँ कानुन बनाउनु पर्दैन । विद्यमान कानुनलाई कडाइसाथ कार्यान्वयन गरे पनि ठूलो परिवर्तन सम्भव छ ।

दृष्टिकोण

‘स्मार्ट’ कर्मचारीतन्त्रको प्रस्थानविन्दु 

शासनको साध्य र साधन मानिएको कर्मचारी प्रशासन नै समस्याग्रस्त हुँदा समग्र व्यवस्थामा असर परेको छ । अब सरकारका हरेक कामकारबाहीमा सुशासन र पारदर्शिता कायम गरी नवीन शैली अवलम्बनका लागि कर्मचारीलाई समयानुकूल समायोजन र कटौतीको मार्गमा जानु आवश्यक छ ।
- तारा वाग्ले

निजामती सेवा विधेयक मस्यौदाले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने व्यवस्था ल्याएपछि कर्मचारीतन्त्रमा बहस सुरु भएको छ । मस्यौदाको प्रस्तावित व्यवस्थाले कानुनको रूप पाए कतिपय कर्मचारीमा खुसी छाउनेछ भने कतिपयमा निराशा । यस व्यवस्थाअनुसार, पहिलो चरणमै १० हजार कर्मचारी अवकाशमा जाने भएपछि तीभन्दा तल्लो तहमा कार्यरत कर्मचारीले छिट्टै बढुवा पाउने सम्भावना हुन्छ र जागिर अवधि बढ्छ, त्यसैले ती खुसी छन् । ५५ वर्ष पुगेका कर्मचारी भने साबिकको व्यवस्थाभन्दा अघि नै अवकाशमा जानुपर्ने अवस्था आएकामा असन्तुष्ट छन् । 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने प्रावधान एक पटकलाई मात्रै ल्याइएको हो । ऐन लागू हुने दिन ५५ वर्ष उमेर अवधि वा ३० वर्ष सेवा अवधि पुगेकाहरू अवकाशमा जानुपर्ने बाध्यतामा पर्नेछन् भने अवकाशमा जानबाट एक दिनले बचेकाहरू ६० वर्षसम्म जागिर खान पाउने भाग्यशाली ठहरिनेछन् । ‘तलब–सुविधाका दृष्टिले पनि एकै चरणमा बहिरिनुपर्ने कर्मचारीहरू मर्कामा पर्ने’ भन्दै कतिपय कर्मचारीले चिन्ता व्यक्त गरेका छन् ।

ऐन बनेर कार्यान्वयनमा जाँदा लामो समय लाग्ने हुँदा सरकारले अध्यादेशमार्फत असारभित्रै ऐन ल्याउन सक्ने उनीहरूको आशंका छ । यसअघि निजामती सेवा विधेयक पटक–पटक संसद्मा पेस भएर पनि ऐनको रूप लिन पाएको थिएन । संविधान जारी भएयता चौथो पटक २१ फागुन ०८० मा सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको निजामती सेवा विधेयक पारित हुनै लागेको थियो । सोही अवस्थामा भदौमा भएको जेन–जी आन्दोलनले प्रतिनिधिसभा विघटन भएकाले सो विधेयक निष्क्रिय भएको थियो ।

यस पटक पनि विधेयक संसद्‍मा पेस भएर पारित हुन समय लाग्ने हुँदा सरकारले यही असारमा अध्यादेश ल्याउन सक्ने तर्क गर्दै साउनअघि अवकाशमा जाने कर्मचारीले भर्खरै सरकारले बढाएको तलब र सो अनुसारको पेन्सन सुविधासमेत नपाउने चिन्ता व्यक्त गरेका हुन् । सरकारले नयाँ आर्थिक वर्षमा १ साउनबाट कर्मचारीको तलबमा २१ प्रतिशतले वृद्धि गरेको छ । असारमै १० हजार कर्मचारीलाई अवकाश दिँदा तलब तथा पेन्सनको अतिरिक्त व्ययभारबाट राज्यको खर्च जोगिने भएकाले सरकारले तत्काल यो व्यवस्था लागू गर्न सक्ने आशंका छाएको छ । 

प्रशासनिक खर्च घटाउने र संरचना सुधार गर्ने उद्देश्यले सरकारले शासकीय सुधारसम्बन्धी कार्यसूचीमा दरबन्दी पुनःसंरचना तथा कटौतीको प्रस्ताव गरेपछि कर्मचारीमा बहस सिर्जना भएको हो । सरकारको १०० बुँदे कार्यसूचीमा संघीय निजामती सेवा ऐन ४५ दिनभित्रै ल्याउने प्रतिबद्धतासमेत जनाइएको थियो । सो अनुरूप एक महिनाभित्रै ल्याइएको संघीय निजामती सेवा ऐनको मस्यौदामा राखिएका प्रावधानले कर्मचारीतन्त्रमा अन्योल छाएको छ ।

मस्यौदाको दफा ५७ मा उल्लेखित अनिवार्य अवकाशसम्बन्धी व्यवस्थाअन्तर्गत निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन् । ऐन प्रारम्भ भएको दिन ५५ वर्ष उमेर पुगेका र ऐन प्रारम्भ भएको आर्थिक वर्षमा ५८ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले पनि सोही वर्ष अवकाश पाउने प्रस्ताव गरिएको छ । अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐनको दफा ३३ अनुसार, ५८ वर्ष उमेर पूरा भएका निजामती कर्मचारीले स्वतः अवकाश पाउँछन् ।

वर्तमान सरकारले सुशासन कायम गर्ने र प्रशासनिक कार्यशैलीमा मितव्ययिता ल्याउँदै सेवा प्रवाह चुस्त, छरितो बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ । मन्त्रालयको संख्या घटाउने र कर्मचारी कटौतीको प्रक्रिया अघि बढाइसकेको छ । गठन भएलगत्तै सरकारले समग्र प्रशासनको कार्यसम्पादन नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने प्रतिबद्धतासहित कार्यसूची अघि सारेको थियो ।

कार्यसूचीमा मन्त्रालयको संख्या पुनरावलोकन गर्ने, हाल कायम दरबन्दी व्यवस्थापन गर्ने तथा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्थापन गर्ने उल्लेख छ । सोअनुरूप सरकारले चालु आर्थिक वर्षदेखि नै प्रशासनिक खर्च कटौती गर्न र संरचना छरितो बनाउन विभिन्न तरिका अपनाएको छ । मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको छ भने संघीय सरकार मातहतका विभिन्न कार्यालय खारेज गरिएको छ । 

शासन व्यवस्था बदलिएपछि कमर्चारीतन्त्र स्मार्ट र प्रतिबद्ध बनाउन अहिले मात्रै होइन, विगतमा पनि थरीथरीका अभ्यास भएका थिए । देशको शासन प्रणालीमा ठूला परिवर्तन भएपछि बनेका यसअघिका सरकारले शासकीय सुधारसहित कर्मचारीतन्त्र सुधारमा चासो दिएका छन् । २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि बनेको सरकार र संघीयता लागू भएपछि बनेको सरकारले ठूलो संख्यामा कर्मचारी समायोजन र कटौती गरेका थिए । 

नेपालको संविधान जारी भएपछि २०७४ मा तत्कालीन सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७४ मा संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वैच्छिक अवकाश व्यवस्था गरेको थियो । त्यसबेला २० वर्ष सेवा पूरा गरेका र ५० वर्ष उमेरका कर्मचारीले स्वैच्छिक अवकाश लिन सक्ने व्यवस्था थियो । अवकाशमा जाने कर्मचारीलाई सात वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) दिने र पछि नियमित निवृत्ति दिने व्यवस्था थियो ।

त्यस्तै २०४८ सालमा पनि सरकारले प्रशासनलाई चुस्त र मितव्ययी बनाउन कर्मचारी कटौतीको यस्तै किसिमको अभ्यास गरेको थियो । तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले २३ हजार कर्मचारीलाई अवकाशमा पठाएको थियो । त्यसबखत निजामती सेवा नियमावलीमा २९ औं संशोधन गरी कर्मचारी संख्या १ लाख २ हजारबाट ७७ हजारमा झारिएको थियो । त्यसबेलाको निजामती सेवा ऐन २०१३ अनुसार, कर्मचारीको अवकाशको उमेर ६० वर्ष थियो, तर सेवा अवधिको प्रावधान थिएन । २०४९ मा बनाइएको निजामती सेवा ऐन– २०४९ ले २० वर्ष सेवा अवधि र ५८ वर्ष उमेर पुगेकालाई निवृत्तिभरणसहित अवकाश दिने व्यवस्था ल्याएको हो ।

अहिले संघीय निजामती सेवामा ५५ वर्ष उमेर कटेका ४ हजार १ सय ३५, ३० वर्ष सेवा अवधि पुगेका ३ हजार ३ सय ४ तथा ५५ वर्ष पुगेका र ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीको संख्या एक हजार ९ सय ५७ रहेको ‘निजामती किताबखाना’ को तथ्यांक छ । त्यसैगरी नियमित अवकाशमा जाने कर्मचारीको संख्या चालु आव ०८२/८३ मा २ हजार २ सय ११ छ । यसरी अनिवार्य अवकाश र प्रस्तावित प्रावधान कार्यान्वयन भए एकैचोटि १० हजारभन्दा बढी कर्मचारी अवकाशमा जानेछन् ।

एकैचोटि ठूलो संख्यामा अनुभवी कर्मचारी बाहिरिँदा प्रशासनिक संयन्त्र कमजोर हुने, सेवा प्रवाह प्रभावित हुने तथा संस्थागत स्मृति नै नष्ट हुने जोखिम रहेको कतिपय कर्मचारीको धारणा छ । हाल संघीय तहमा ५१ हजार, प्रदेशमा ३५ हजार र स्थानीय तहमा साढे ६५ हजार गरी कुल एक लाख ५१ हजार ७ सय ६५ जना कर्मचारीको दरबन्दी रहेको ‘निजामती किताबखाना’ को पछिल्लो प्रतिवेदनमा जनाइएको छ । यीमध्ये कैयौं दरबन्दी खाली भएकाले संघीय निजामती सेवामा कुल ८६ हजार ४ सय ८५ कर्मचारी मात्रै कार्यरत छन् ।

हाम्रो प्रशासनमा कर्मचारीको संख्या धेरै भए पनि प्रशासनले अपेक्षित नतिजा हासिल गर्न नसक्दा, प्रशासन बोझिलो र खर्चिलो हुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन नसकेका समस्या निकै पुराना हुन् । वर्तमान सरकारले यस्ता समस्या हुन नदिन नै प्रशासन सुधारका विभिन्न प्रयास थालेको हो । यसअघि गठन गरिएका विभिन्न प्रशासन सुधार आयोगका प्रतिवेदनले पनि सरकारी संरचना छरितो बनाउने र कर्मचारी कटौती गर्ने सुझाव दिएका थिए ।

तर, तिनको कार्यान्वयन हुन नसक्दा समस्या ज्युँका त्युँ छ । प्रशासक तथा राजनीतिज्ञबीच प्रशासनलाई सक्षम र नतिजामुखी कसरी बनाउने ? यस विषयमा बहस भने सात दशकअघिदेखि नै भइरहेको छ । आयोग तथा समितिले निजामती सेवा जनमुखी, प्रशासन नतिजामुखी बनाउने, प्रशासनमा व्याप्त पुरानो सोच तथा संरचनामा सुधार गर्ने, सेवा प्रवाह सरल, सहज, चुस्त, पारदर्शी तथा प्रभावकारी बनाउने सुझाव र मार्गचित्र तय गर्छन् । तर, ती सुझाव सरकारी अभिलेखमा लिपिबद्ध हुन्छन्, कार्यालयका स्टोरमै थन्किन्छन् र कार्यान्वयनमा जाँदैनन् । 

सेवाग्राहीलाई ससम्मान गुणस्तरीय, पारदर्शी र प्रभावकारी सेवा दिन सकियोस् भनेर नेपालमा वि.सं. २००९ मा ‘प्रशासकीय पुनर्गठन समिति’ गठन गरी प्रशासन सुधारका कार्य थालिएको थियो । त्यसपछि वि.सं. २०१३, २०२५, २०३२, २०४८ र २०७० गरी हालसम्म ६ वटा प्रशासन सुधार आयोग गठन भइसकेका छन् । सबै आयोगले कर्मचारी कटौतीका सुझाव दिएका थिए । पछिल्लो पटक गठित काशीराज दाहाल नेतृत्वको ‘प्रशासन सुधार सुझाव समिति’ ले तत्कालै प्रशासन सुधारको प्रक्रिया प्रारम्भ गरिहाल्न जोड दिएको थियो । समितिले नागरिकका चासो र सरोकारका विषय सम्बोधन गरी चुस्त र प्रभावकारी सेवा प्रवाह गर्न सार्वजनिक प्रशासनको विद्यमान संरचना, कार्यशैली प्रणाली एवम् मूल्यांकन प्रणालीमा आमूल सुधारको खाँचो औंल्याएको थियो । प्रशासनिक खर्च घटाउन चुस्त, प्रभावकारी र स्मार्ट संरचना निर्माण गरिनुपर्ने समितिको ठहर छ । 

शासन व्यवस्थाको साध्य र साधन मानिएको कर्मचारी प्रशासन समस्याग्रस्त हुँदा समग्र शासन व्यवस्थामा असर परेको हो । अब सरकारले गर्ने हरेक कामकारबाहीमा सुशासन र पारदर्शिता कायम गरी नवीन शैली अवलम्बनका लागि कर्मचारीलाई समयानुकूल समायोजन तथा कटौतीमा जानु आवश्यक छ । कर्मचारीतन्त्रमार्फतै सरकार र प्रशासनको दिशा तय हुने हुँदा शासकीय सुधारका लागि प्रमुख लक्ष्य नै दक्ष, इमानदार र जिम्मेवार कर्मचारीको व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ । 

प्रशासन सुधार निरन्तर चलिरहने प्रक्रिया हो । त्यसैले आउँदा दिनमा कर्मचारी प्रशासनलाई चुस्त, दुरुस्त, सक्षम, सीपयुक्त, पारदर्शी, मर्यादित र पेसाप्रति इमानदार बनाउन उद्देश्यमूलक, कार्ययोजनासहितको प्रशासन सुधारको खाँचो छ ।

Page 8
परदेश

भूकम्पको केही घण्टाअघि मात्रै अमेरिकाबाट डिपोर्ट भएका थिए १४६ भेनेजुएलाका नागरिक, होटल ढलेपछि अधिकांश बेपत्ता

भूकम्प जानुअघि उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर परिचयपत्र दिइएको थियो र भोलिपल्ट घर पठाइने जानकारी दिइएको थियो ।
- एजेन्सी
गत बुधबार ला गुएरामा गएको भूकम्पमा क्षतिग्रस्त भग्नावशेषमा जीवितको खोजी गरिँदै ।तस्बिरः एएफपी/रासस

अमेरिकाबाट देश निकाला (डिपोर्ट) गरिएका १०० भन्दा बढी मानिसहरूलाई भेनेजुएलाको ला गुयरास्थित एउटा होटलमा ल्याएर राखिएको केही घण्टाभित्रै भूकम्प गएको थियो । भूकम्पमा उक्त होटल भग्नावशेषणमा परिणत भयो । 

अहिले धेरै मानिसहरु सम्पर्कविहिन छन् । घटनामा बाँच्‍न सफल भएकाहरुले अवस्था निकै कहालीलाग्दो रहेको बताएका छन् । 

भूकम्प जानुभन्दा केही घण्टाअघि अमेरिकाको मियामीबाट डिपोर्ट गरिएकाहरुलाई बोकेर एउटा विमान  भेनेजुएलामा अवतरण भएको थियो ।

अमेरिकी सरकारले देश निकाला गरेका मानिसहरुको तथ्यांङ्कबारे सर्वसाधारणलाई जानकारी दिने लक्ष्‍यले मानवअधिकारवादी संस्था ह्‍युमन राईट्स फर्स्टले सञ्चालन गरेको परियोजना आइस फ्लाईट मोनिटरका अनुसार उक्त उडानमा १९ जना महिला र सात जना बालबालिकासहित १४६ जना भेनेजुएलाका नागरिकहरू सवार थिए । 

घटनामा बाँच्न सफल ५८ वर्षीया लिस्बेथ पोर्टिलोले आफूहरुलाई भेनेजुएला फर्किएपछि सरकारले ला गुएरास्थित सान्तोआरियो ला लानादा नामक होटलमा राखेको बताइन् । यहाँ आएको छोटो समयमै भूकम्प गएको उनले स्मरण गरिन् ।  त्यसपछि झन्डै २० जना मानिसहरु भग्नावशेषबाट निस्किएर भागेको उनले बताइन् । 

भूकम्प जानुअघि उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर परिचयपत्र दिइएको थियो र भोलिपल्ट घर पठाइने जानकारी दिइएको थियो ।

बुधबार गएको ७.२ र ७.५ रेक्टर स्केलको भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये ला गुएरा एक हो । यहाँका भवनहरूको भग्नावशेषबाट निस्कने क्रममा कतिपय मानिसहरू नाङ्गै त कतिपय खाली खुट्टा दौडिरहेको देखिन्थ्यो । 

'हामी करिब पाँच किलोमिटर पैदल हिड्यौँ, र म धुरुधुरु रोइरहेकी थिएँ । त्यहाँ सञ्चारको कुनै माध्यम थिएन,' पोर्टिलोले माराकाइबोस्थित आफ्नो घरबाट एशोसियट प्रेस (एपी)सँग टेलिफोनमा भनिन्, ' त्यसपछि हामी राष्ट्रिय गार्डको भवनमा पुग्यौं । जहाँबाट आफन्तहरूलाई फोन गर्ने मौका पाइयो ।'

'मेरो पुनर्जन्म भयो; भगवानले मलाई दोस्रो मौका दिनुभयो,' पोर्टिलोले केही बेर रोकिएर रुँदै उनले थपिन्, 'म मानसिक रूपमा धेरै मर्माहत भएकी छु ।' भेनेजुएला सरकारका अनुसार यस भूकम्पमा परी १,७०० भन्दा बढी मानिसको मृत्यु भएको छ । ठूलो संख्यामा मानिसहरु बेपत्ता छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धेरैभन्दा धेरै अवैध आप्रवासीहरुलाई देश निकाला गर्ने अभियानको चपेटामा पोर्टिलोसहितका भेनेजुएलाका नागरिक परेका थिए । पोर्टिलो अन्य १६ जना महिलाहरूसँगै दोस्रो तलाको एउटा कोठामा बसिरहेकी थिइन् । उनी समुद्र हेर्नका लागि बार्दलीमा निस्किन् र आकाश कालो देखिन् । त्यसपछि कोठामा फर्किएर केही समय बेडमा आराम गरिन् । अचानक उनले आफू हल्लिरहेको महसुस गर्न थालिन् ।

'मैले केही आवाज सुन्न थालेँ र मेरा छेउमा भएका महिलाहरू लड्न थालेको देखेँ,' भूकम्पको आवाज र क्षणको वर्णन गर्दै उनले भनिन्, 'उनीहरू सबैजना गुहार माग्दै चिच्याइरहेका थिए ।'

त्यसको लगत्तै, दोस्रो भूकम्प गयो । 'म लडेँ र एउटा बिममुनि पुरिएँ । तर भूकम्पको कम्पनले गर्दा म पुरिएको ठाउँका सामानहरू यताउता सरे र म बाहिर निस्कन सफल भएँ,' आफ्नो शरीरभरि चोटपटक र नीलडाम लागेकी पोर्टिलोले भनिन् ।

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तनसँग यस विषयमा एपीले प्रश्न राख्दा तत्कालै कुनै प्रतिक्रिया दिन चाहेन । 

सामाजिक सञ्जालमा पोस्ट गरिएको भेनेजुएला सरकारको एउटा भिडियोमा बुधबार काराकास विमानस्थल आइपुगेका ती नागरिकहरूलाई भेनेजुएलाका अधिकारीहरूले स्वागत गरिरहेका दृश्यहरू देखाइएको थियो ।

२४ वर्षीया जेनी रोड्रिगेजले टेलिमुन्डो नेटवर्कसँगको कुराकानीमा आफू पनि उक्त उडानमा रहेको र होटलमा लगिएको कुरा बताइन् ।

'म भग्नावशेषमुनि फसेकी थिएँ । त्यही उडानमा सँगै रहेका एक साथी त्यहाँ आए । भग्नावशेषबाट आफ्नो हात बाहिर निकाल्न म सफल भएँ । उनको पाइन्टमा समातेँ र सहयोगका लागि बिन्ती गरेँ,' उनले भनिन्,'भगवानलाई र उनलाई धन्यवाद्, उनको सहयोगले म त्यहाँबाट बाहिर निस्कन सफल भएँ ।'

लिलियाना रोजासले टेलिमुन्डोसँगको कुराकानीमा आफ्ना ३३ वर्षीय जीवनसाथीलाई खोज्ने प्रयास गरिरहेको बताइन् । उनले यस विषयमा टेक्सासको एल पासोस्थित हिरासत केन्द्रसँग पनि सम्पर्क गरिन् । उनका जीवनसाथी देश निकाला हुनअघि यही केन्द्रमा थिए । तर, उक्त केन्द्रले देश निकाला गरिएपछिको अवस्थाबारे जानकारी नरहेको बतायो । 

'कसैले पनि कुनै कुराको जवाफ दिइरहेका छैनन्,' रोजासले भनिन् ।

ट्रम्प प्रशासनले यस वर्ष ठूलो संख्यामा अमेरिकाबाट अवैध अप्रवासीहरुलाई देश निकालका गरेको छ । आईस फ्लाईट मनिटर) का अनुसार मे महिनामा मात्र बुर्किना फासो, कम्बोडिया, क्यामरुन, चिली र आइभोरी कोस्टसहित ३८ वटा देशहरूमा २८८ वटा डिपोर्टेसन उडानहरू भएका थिए । यस महिना भेनेजुएलाका लागि १२ वटा डिपोर्टेसन उडानहरू सञ्चालन भएको थियो । 

परदेश

अत्यधिक गर्मीले युरोपमा जनजीवन प्रभावित

युरोपका ८ सय ५० ठूला सहरमध्ये झन्डै आधा सहर अत्यधिक गर्मीको चपेटामा,गर्मीले युरोपका झन्डै १० करोड जनसंख्याको जनजीवन प्रत्यक्ष प्रभावित
- एजेन्सी
जर्मनीको रुगन टापुको समुद्री तटमा गर्मी छल्न आएका स्थानीय र पर्यटकहरू ।तस्बिर : एपी/रासस  

झन्डै दुई सातादेखि अत्यधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जनसहित वर्षा भएपछि केही राहत पाएको छ । फ्रान्स, जर्मनीलगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भने अझै अत्यधिक गर्मी छ । स्थानीय अधिकारीहरूले क्रोएसियामा खराब अवस्था आउन सक्ने चेतावनी दिएका छन् । बोस्निया एन्ड हर्जिगोभिना र अल्बायिनामा पनि तापक्रम ४० डिग्रीसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ । युक्रेनमा तापक्रम ३५–३८ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ ।
स्लोभाकियामा सोमबार तापक्रम अहिलेसम्मकै उच्च ४१ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसैगरी चेक गणतन्त्रको डोक्सानीमा आइतबार साँझ ४१ दशमलव ९८ डिग्री सेल्सियस तापक्रम मापन गरियो । हंगेरीमा सोमबार तापक्रम ४१ दशमलव ८ डिग्री सेल्सियस थियो । क्रोएसिया, अल्बानिया, बोस्निया एन्ड हर्जिगोभिनाको जंगलमा डढेलोका घटना बढेका छन् ।
जर्मनीमा झन्डै दुई सातासम्म अत्यधिक गर्मीपछि सोमबार अवस्था सामान्य बनेको छ । यहाँका केही स्थानमा गत साता तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । तर, सोमबार धेरै ठाउँमा चट्याङ र केही ठाउँमा वर्षा भएपछि तापक्रम घटेर २५–२९ डिग्री सेल्सियस आसपास रह्यो ।

दुई सातायता गर्मीसँगै चलेको तातो हावाका कारण यातायात र स्वास्थ्य सेवा प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जर्मनीको लेइपजिग सहरमा उच्च तापक्रमले ट्राम ट्र्याक बिग्रिएपछि सेवा स्थगित गरिएको थियो । कतिपय स्थानमा सडकमा धाँजा परेका छन् भने कतिपय स्थानमा रेलवेको लिक नै बिग्रिएर रेलवे सेवा प्रभावित भएको थियो ।

जर्मनीका विभिन्न स्थानमा रहेका ताल र नदीमा पौडी खेल्न जाँदा झन्डै २६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीयहरूले सरकारलाई जलवायु अवलम्बनका लागि नयाँ कदमहरू चाल्न आग्रह गरेका छन् । ‘हामीले परिणामहरू देखेका छौं । रेलवे सेवाहरू बन्द भइरहेका छन् । किनकि ट्र्याकले यति साह्रो गर्मी थेग्न सक्दैन । एयर कन्डिसनको अभावले अस्पतालहरू दबाबमा छन्,’ स्थानीयवासी एन्जिलिकाले भनिन् । उनले जलवायु अनुकूलनका लागि कडा कदमहरू चाल्न सरकारसँग आग्रह गरेकी छन् ।

बर्लिननजिकै बस्ने मारिया हर्जले उच्च तापक्रमका लागि जर्मनी तयार नभएको बताइन् । उनले सार्वजनिक स्थलमा कुलिङ प्रणाली नहुनु यसको उदाहरण रहेको बताइन् । फ्र्याङ्कफर्टकी मेलानीले सार्वजनिक यातायातमा एयर कन्डिसनिङ नरहेको बताइन् । उनले जलवायुअनुसारको तयारी सरकारले गर्नुपर्ने बताइन् । वातावरणमन्त्री कार्स्टेन सेचनाइडरले १ खर्ब युरो संघीय बजेट राज्य तथा नगरपालिकाहरूलाई तापक्रम अनुकूल मापदण्डहरू तयार गर्नका लागि छुट्याइएको बताए । तर, स्थानीय अधिकारीहरूले यति बजेट अपर्याप्त हुने बताएका छन् । विज्ञहरूले संरचनात्मक अनुकूलन मापदण्ड कार्यान्वयन हुन सक्ने चेतावनी दिएका छन् । उनीहरूले अहिले गरिएको लगानीको प्रतिफल आउन आगामी १० देखि २० वर्षसम्म लाग्न सक्ने बताएका छन् ।

गर्मीका कारण फ्रान्सको जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ सोमबार चट्याङ र मुसलधारे वर्षा भएपछि दुई सातादेखिको उच्च गर्मी घटेको छ । यस अवधिमा फ्रान्समा मृत्युका घटना अस्वाभाविक रूपमा बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फ्रान्समा गर्मी सुरु हुनुअघि अप्रिल र मे महिनामा दैनिक औसत ९ सयदेखि १ हजार मानिसको मृत्यु भएको थियो । तर, गर्मी उच्च भएका बेला गत बिहीबार एकैदिन झन्डै १४ सय जनाको मृत्यु दर्ता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, शुक्रबार पनि १४ सय हाराहारीमा मृत्यु दर्ता भएको छ । घरमा र हेरचाह केन्द्रमा मृत्यु भएकाहरूको यथार्थ विवरण प्राप्त हुन समय लाग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गर्मी बढेपछि ६५ वर्षमाथिका मानिसहरूको मृत्यु दर बढेको छ । त्यस्तै घरमै मृत्यु हुनेको संख्या पनि ४० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

पेरिसस्थित एउटा शव व्यवस्थापन केन्द्रका सञ्चालक जोउहेर हर्टेलीले हरेक मिनेटमा आफूलाई शव व्यवस्थापनका लागि फोन आउने गरेको बताए । उनले शवगृहमा शव राख्ने ठाउँसमेत अभाव भएकाले सेवा दिन असमर्थ रहेको बताए । गर्मीले सिर्जित समस्याले मृत्यु हुनेको यकिन संख्या पत्ता लगाउन महिनौं र हप्तौं लाग्न सक्छ । तर फ्रान्समा मृतकको संख्या अस्वाभाविक रूपमा बढेको स्पष्टै देखिएको छ । विशेषगरी पछिल्ला दुई साता तापक्रम उच्च रहँदा धेरै वृद्धवृद्धाहरूको घरमै मृत्यु भएको छ ।

यस पटक युरोपका ८ सय ५० ठूला सहरमध्ये झन्डै आधा सहर यतिबेला अत्यधिक गर्मीको चपेटामा परे । गर्मीले युरोपका झन्डै १० करोड जनसंख्याको जनजीवन प्रत्यक्ष प्रभावित भयो ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससका अनुसार गर्मीले सिर्जित संकटका कारण २१ जुनयता युरोपमा मृतक संख्या सामान्य अवस्थामा भन्दा कम्तीमा १३ सयले बढेको देखिन्छ । ‘गर्मीको तनावलाई प्रायः साइलेन्ट किलर भन्ने गरिन्छ । र, युरोपका घर, कार्यस्थल तथा स्कुल यो तापक्रम झेल्न सक्ने गरी निर्माण गरिएका छैनन्,’ उनले भने ।

अत्यधिक गर्मीका कारण विद्यालयहरू बन्द गरिएको थियो । धेरै ठाउँमा विद्युत् आपूर्ति पनि अवरुद्ध भयो ।‘युरोप विश्वकै सबैभन्दा धेरै गर्मी बढिरहेको महादेश हो । यहाँ विश्वको औसत वृद्धिको दाँजोमा दोब्बरले तापमान वृद्धि भइरहेको छ,’ टेड्रोसले भने, ‘दसौं लाख मानिसहरू अति गर्मीमा बाँचिरहेका छन् । सयौं मानिसहरू मरेका छन् । विद्यालय बन्द छन् ।’

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्तो अवस्था निम्तिएको हुन सक्ने बताएका छन् । वर्ल्ड वेदर एट्रिब्युसन (डब्लूडब्लूए) ले गरेको नयाँ अध्ययनपछि वैज्ञानिकहरूले यस्तो विश्लेषण गरेका हुन् । ‘युरोपभर फैलिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो गर्मीको लहर हो,’ डब्लूडब्लूएको अध्ययनमा संलग्न डा. थियोडोर किपिङले भने, ‘पछिल्लो ५० वर्षयता पृथ्वीको तापक्रम औसतमा १ दशमलव १ डिग्री सेल्सियसले बढेको छ । यस अवधिमा यस्तो गर्मीको लहर आउने सम्भावना उच्च रहेको हामीले पायौं । जुन महिनामा जलवायु परिवर्तनबिना यस्तो हुन सम्भव थिएन । भविष्यमा यस्तो लहर आइरहन सक्छन् ।’

Page 9
अर्थ वाणिज्य

दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया

काँकडभिट्टा नाकाबाट मंगलबार इलाम टी र समर भ्यालीका दुई ट्रक चिया भारत निर्यात, २० प्रतिशत खेपमा मात्रै र्‍यान्डम नमुना परीक्षण गर्ने सहमति
- पर्वत पोर्तेल

 करिब दुई महिनादेखि अवरुद्ध नेपाली चियाको निर्यात मंगलबारदेखि सुरु भएको छ । काँकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया मंगलबार भारत निर्यात भएको मेची भन्सार कार्यालय, काँकडभिट्टाले जनाएको छ ।

‘चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेसँगै उद्योगीहरू उत्साहित बनेका छन्’, सूर्योदय अर्थोडक्स टी प्रोडक्ट एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले भने, ‘नेपाली चियालाई भारतीय भन्सारले निर्बाध पास गरेको छ ।’ नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काँकडभिट्टा नाकाबाट चिया बोकेका गाडी भारतको पानीट्यांकीतर्फ पठाइएको बताउँदै चिया निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको जनाए । ‘अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको छ, केही समयपछि झापाको सीटीसी पनि जान्छ,’ उनले भने ।

उनका अनुसार वायरहरूलाई चियाको नमुना पठाइसकिएको छ । ‘उनीहरू हाम्रो चिया किन्न आतुर देखिएका छन्,’ उनले भने । नेपाली चिया मुख्य रूपमा भारतको सिलिगुडी र कोलकाताका बजारमा बिक्री हुने गरेको छ । चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार पहिले भारतले सबै खेपको नमुना परीक्षण गर्ने व्यवस्था गरेको थियो । अहिले २० प्रतिशत खेपमा मात्रै र्‍यान्डम नमुना परीक्षण गर्ने सहमति भएको छ ।

अध्यक्ष पराजुलीका अनुसार भारतीय भन्सारबाट यही प्रक्रियाअनुसार नियमित क्लियरेन्स हुन थालेमा चिया निर्यातमा देखिएको समस्या समाधान भएको मान्न सकिनेछ । यसअघि तीन साताको अवरोधपछि ६ जेठमा केही खुकुलो बनाइएको चिया निर्यात प्रक्रिया भारतले फेरि जेठको तेस्रो सातादेखि कडाइ गरेको थियो । भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीहरूले निर्यात रोक्न बाध्य भएको बताएका थिए ।

यसैबीच, भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले २३ जुनमा जारी गरेको पत्रमार्फत चिया (एचएसएन कोड ०९०२) आयातमा जोखिममा आधारित परीक्षण प्रणाली लागू गर्दै २० प्रतिशत खेपमा ‘र्‍यान्डम इन्टरसेप्सन’ अर्थात् नमुना छनोट गरी परीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । उद्योगीहरूका अनुसार हाल करिब तीन लाख केजी तयारी चिया भारतीय गोदाममा थन्किएको छ भने १० लाख केजीभन्दा बढी चिया नेपालमै भण्डारण गरिएको छ ।

समस्याको विरोधमा इलामका उद्योगीले १ असारदेखि तथा झापाका उद्योगीले ४ असारदेखि उद्योग बन्द गरेका थिए । झापा, इलामसहित पूर्वी नेपालका करिब ९९ वटा चिया उद्योग बन्द हुँदा दर्जनौं साना तथा ठूला चिया बगानमा कामसमेत प्रभावित भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू उद्योग पुनः सञ्चालन गर्न सहमत भएका थिए ।

अर्थ वाणिज्य

७९ महिनामा सकियो नागढुंगा सुरुङको काम

साउनभित्र सञ्चालन गर्ने आयोजनाको तयारी, काठमाडौं र धादिङ दुवैतर्फ टोल प्लाजा पनि निर्माण
- विमल खतिवडा

निर्माण थालेको ७९ महिनामा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सकिएको छ । ठेक्का लिने जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरेको छ । साउनभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी छ । 

४ कात्तिक ०७६ मा सुरुङको काम सुरु गरिएको थियो । सुरु सम्झौताअनुसार ४२ महिनाभित्र काम सक्नुपर्ने थियो । तर कोभिड, स्थानीय अवरोधलगायत विविध कारणले ढिला गरी सम्पन्न भएको हो । उक्त कम्पनीले गत जेठमा आयोजना हस्तान्तरण गरेको छ ।

सम्झौताअनुसार एक वर्षभित्र सुरुङमा कुनै समस्या आए हाज्माले मर्मत सम्भार गर्नुपर्नेछ । सञ्चालनका लागि कर्मचारीलाई तालिम दिनेदेखि सफ्टवेयर जडान भइरहेको आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । ‘निर्माण कम्पनीले काम सकिसक्यो, अब सुरुङ हामीले जिम्मा लियौं,’ उनले भने, ‘उक्त कम्पनीका लागि त्रुटि सच्याउने अवधि एक वर्ष हुन्छ ।’ 

काठमाडौं र धादिङ दुवैतर्फ टोल प्लाजा निर्माण पनि सकिसकेको छ । ‘टोल प्लाजाको काम सकिएर त्यहाँ सफ्टवेयर जडान चलिरहेको छ,’ उनले भने, ‘साउनभित्र सञ्चालनका लागि कर्मचारीलाई सुरुङभित्र अभ्यस्त पार्ने काम भइरहेको छ ।’ धादिङतर्फ पहिरो व्यवस्थापनको काम पनि सकिसकेको उनको भनाइ छ । 

सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले पाएको छ । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो । सुरुङमार्गमा १ सय ५० जना कर्मचारी हुनेछन् । सेवा प्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ । सञ्चालनको जिम्मा लिने कम्पनीले पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । सेवा प्रदायकले चौबीसै घण्टा सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ । 

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई डिजिटल्ली भुक्तानी गर्ने व्यवस्था गरिने सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए । भुक्तानीका लागि एन–ट्याग र आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) गेटको व्यवस्था गरिने उनको भनाइ छ । ‘जुन बैंकको एन–ट्याग लिँदै हुनुहुन्छ, त्यसको खाता छ भने त्यसैबाट पैसा गएर कार्डमा लोड हुन्छ, त्यो कार्ड गेटमा देखाउनेबित्तिकै गेट खुल्छ, किनकि कुनै पनि सवारीसाधनले सुरुङ प्रयोग गरेबापत तोकिएको शुल्क कट्ने व्यवस्था सिस्टममा गरिएको 

हुन्छ,’ उनले भने, ‘यसका लागि बढीमा दुई हजार रुपैयाँसम्म डिपोजिट गर्नुपर्छ, जसका लागि विभिन्न ‘क’ वर्गका १३ वटा बैंकसँग कुरा भइसकेको छ, यसमा अन्य बैंकहरू पनि जोडिन सक्छन् ।’ 

सवारी चालकले एन–ट्याग अनिवार्य लिनुपर्ने उनले बताए । त्यस्तै गाडीको अगाडिको सिसामा स्टिकर टाँसेर आरएफआईडीमा स्क्यान गरेर पनि भुक्तानीको व्यवस्था गर्न लागिएको उनले बताए । यसका लागि काठमाडौं र धादिङ दुवैतर्फ आरएफआईडी गेटको व्यवस्था गरिनेछ । एक–दुईचोटि मात्र सुरुङ प्रयोग गर्नेका लागि आरएफआईडी, एन–ट्याग नहुने भएकाले क्यूआर कोड, फोन–पेको व्यवस्था गरिनेछ । यो काम सुरुङ सञ्चालनको जिम्मा पाउने सेवा प्रदायक कम्पनीले गर्नेछ । उसले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ । 

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क तोकिसकेको छ । जसअनुसार सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको अनुमान छ । मिनीबस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने अनुमान छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । 

यस्ता सवारी दिनको ७ सय ९४ भित्रिने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र ४ सय ४८ बाहिरिने रहेको अनुमान छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिएको छ । 

यस्ता सवारीसाधनले सुरुङमार्गभन्दा बाहिर रहेको नागढुंगा–सिस्नेखोला सडक प्रयोग गर्न पाउनेछन् । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । समग्र रूपमा सुरुङ निर्माणमा जापानको साढे २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी भएको छ ।

अर्थ वाणिज्य

बैंकिङ क्षेत्रका समस्या समाधान गर्ने मौद्रिक नीति ल्याउन सुझाव

राष्ट्र बैंकले कर्जा वर्गीकरण र गैरबैंकिङ सम्पत्ति व्यवस्थापनलगायत विषयमा लचकता अपनाउनुपर्ने सरोकारवालाको भनाइ।
- कान्तिपुर संवाददाता

 बैंकिङ क्षेत्रका समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने सरोकारवालाले औंल्याएका छन् । बैंकिङ क्षेत्रका समस्या समाधानका लागि राष्ट्र बैंकले कर्जा वर्गीकरण र गैरबैंकिङ सम्पत्ति व्यवस्थापनलगायत विषयमा लचकता अपनाउनुपर्ने उनीहरूको भनाइ थियो । 

मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको आगामी मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले उच्च आर्थिक वृद्धिको सरकारी लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मुलुकको बैंकिङ क्षेत्र अहिले गम्भीर दबाबमा रहेको बताएका छन् । उनले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका यथार्थ समस्यालाई सम्बोधन गर्दै वित्तीय स्थायित्व र आर्थिक पुनरुत्थानबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।

कागजमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता देखिए पनि वास्तविक अर्थतन्त्रमा कर्जाको माग घटेको र व्यावसायिक आत्मविश्वास कमजोर बनेको उनको भनाइ थियो । ‘विभिन्न आर्थिक क्षेत्रहरूमा नगद प्रवाह (क्यास फ्लो) सुकेकाले बलिया र सक्षम व्यवसायहरूको समेत ऋण भुक्तानी गर्ने क्षमता प्रभावित भएको छ,’ उनले भने, ‘यही अवस्थाको प्रत्यक्ष असर बैंकहरूको सम्पत्ति व्यवस्थापनमा परेको छ । बैंकहरूले ६० अर्ब रुपैयाँभन्दा बढीको गैरबैंकिङ सम्पत्ति (ननबैंकिङ एसेट) थुपार्न बाध्य छन् ।’ धेरै ऋणीले ऋण तिर्न नसक्दा बैंकहरूले धितो सम्पत्ति स्वीकार गर्नुपरेको र ठूलो परिमाणमा बैंकहरूको पुँजी अनुत्पादक सम्पत्तिमा फसेको उनको भनाइ छ । यसले बैंकहरूको अर्थतन्त्रमा थप लगानी गर्ने क्षमता खुम्चिएको उनले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले विशेषगरी नन–परफर्मिङ एसेट (एनपीए) वर्गीकरण तथा प्रोभिजनिङ व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए । हाल एक महिनामै ५ प्रतिशत, तीन महिनामा १५ प्रतिशत, छ महिनामा ५० प्रतिशत र एक वर्षमा १०० प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाले बैंक तथा ऋणी दुवैलाई पर्याप्त समय नदिएको उनको भनाइ थियो । उनले ऋणी र बैंक दुवैलाई ‘ब्रिदिङ स्पेस’ उपलब्ध गराउने गरी एनपीएसम्बन्धी व्यवस्थामा परिमार्जन गर्न आग्रह गरे । त्यस्तै, उनले एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापना प्रक्रियालाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए । 

यस्तै, क्षमता हुँदाहुँदै पनि निजी क्षेत्रबाट कर्जाको माग नबढ्नु अहिलेको अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती भएको बैंकिङ विज्ञ अलनराज भट्टराईले बताए । मौद्रिक नीतिले ब्याजदर घटाउने वा बढाउनेभन्दा पनि बैंकिङ क्षेत्रका संरचनात्मक समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने उनको धारणा थियो । उनका अनुसार मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतको हाराहारीमा रहेका बेला बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा (एनपीएल) ४.३६ प्रतिशत पुगेको छ, जुन विगतमा सर्वमान्य स्तरभन्दा माथि हो । यद्यपि विदेशी मुद्रा सञ्चिति र विप्रेषण (रेमिट्यान्स) सन्तोषजनक अवस्थामा रहे पनि निजी क्षेत्रतर्फ कर्जा विस्तार ५.७ प्रतिशतमा सीमित रहनुले अर्थतन्त्रमा माग कमजोर भएको संकेत गरेको उनले बताए ।

भट्टराईले बैंकहरूमा करिब ८० खर्ब रुपैयाँ बराबरको तरलता रहेको, करिब ६० खर्ब रुपैयाँ कर्जा प्रवाह भइसकेको र सीडी रेसियो ७९ प्रतिशतमा कायम रहे पनि लगानीयोग्य स्रोत प्रयोग हुन नसकेको उल्लेख गरे । उनका अनुसार न्यून ब्याजदर, स्थिर निक्षेप र पर्याप्त ऋण दिने क्षमता हुँदाहुँदै पनि निजी क्षेत्रबाट लगानीको माग नबढेकाले बैंकिङ प्रणालीमा अतिरिक्त तरलताले नै चुनौती सिर्जना गरेको छ । भट्टराईले बैंकिङ क्षेत्रको अर्को चुनौती एसेट–लायबिलिटी मिसम्याच र रिप्राइसिङ जोखिम बढ्दै जानु रहेको बताए । छोटो अवधिका निक्षेपका आधारमा दीर्घकालीन कर्जा प्रवाह भइरहेकाले संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीतिले उच्च आर्थिक वृद्धिको सरकारी लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने बताए । सरकारले वित्त नीति (बजेट) सार्वजनिक गरिसकेको अवस्थामा अहिले मौद्रिक नीति तर्जुमाको प्रक्रिया अघि बढिरहेको उल्लेख गरे । उनले यस्तो समयमा भइरहेका छलफलहरूले राष्ट्र बैंकलाई नीतिगत सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे ।

पण्डितले राष्ट्र बैंकले आफ्ना लक्ष्य, मौद्रिक नीति सञ्चालनका आधार तथा संयन्त्रलाई ध्यानमा राखेर नीति निर्माण गर्ने स्पष्ट पारे । बजारमा मौद्रिक नीतिप्रति ठूलो अपेक्षा सिर्जना भएको उल्लेख गर्दै उनले ती अपेक्षालाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, नियामकीय सुधार र मौद्रिक नीतिबीचको भिन्नतालाई स्पष्ट रूपमा बुझ्नुपर्नेमा पनि उनले जोड दिए । उनले बैंकिङ क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णय र नियामकीय व्यवस्थाबारे स्पष्ट भाष्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । कोभिड–१९ महामारीका क्रममा लागू गरिएका कर्जा पुनःसंरचना तथा सहुलियतपूर्ण व्यवस्थाले बैंकिङ प्रणाली र पुँजी निर्माणमा पारेको प्रभावबारे गम्भीर बहस आवश्यक रहेको पण्डितले बताए ।

Page 10
अर्थ वाणिज्य

प्रस्तावित जलस्रोत विधेयकको केन्द्रमा आयोग

जलस्रोतको बहुआयामिक उपयोग संरक्षण, दिगो विकास, अन्तरपुस्ता न्याय र जलजन्य विपद् न्यूनीकरणलाई प्राथमिकता दिएको सरकारको स्पष्टोक्ति।
- सीमा तामाङ

प्रस्तावित जलस्रोत विधेयक २०८३ मा सिँचाइ र विद्युत् क्षेत्रमा संघ, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र बाँडफाँटदेखि जलस्रोतको उपयोग र बाँधको सुरक्षासम्म समेटिएको छ । जलस्रोत ऐन, २०४९ संशोधनसहित लागू भइरहेको अवस्थामा गठन आदेशबाट गठित जल तथा ऊर्जा आयोगलाई समेत ऐनमार्फत समेट्ने गरी विधेयकमा प्रस्ताव गरिएको हो । 

प्रस्तावित विधेयकमा जलस्रोतको उपयोग र उपलब्धताको विवरण (वाटर एकाउन्टिङ) र जलस्रोत परीक्षणको व्यवस्थासमेत गरिएको छ । प्रस्तावित विधेयकको दफा १४ मा जलस्रोतको उपयोग र उपलब्धताको विवरण (वाटर एकाउन्टिङ) को व्यवस्था छ । सोही दफाको उपदफा १ मा आयोगले प्रत्येक नदी बेसिनमा उपलब्ध जलस्रोत र त्यसको उपयोग सम्बन्धमा विवरण राख्नुपर्ने, उपदफा २ मा सतह र भूमिगत जलस्रोत, आकाशेपानी वा अन्य जलस्रोत, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यावरण कायम राख्न उपयोग भएको जलस्रोत, खानेपानी, सिँचाइ, जलविद्युत्लगायत अन्य विभिन्न प्रयोजनका लागि उपयोग भएको जलस्रोतका आधारमा विवरण राख्नुपर्ने उल्लेख छ । 

विधेयकको दफा १५ मा जलस्रोत उपयोगको मापदण्ड र दफा १६ मा जलस्रोत उपयोगबारे व्यवस्था गरिएको छ । दफा १६ को उपदफा १ मा संघ सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आआफ्नो क्षेत्राधिकारभित्र रही जलस्रोतको उपयोग गर्न र प्रचलित कानुनबमोजिम उपयोगका लागि अनुमति दिन सक्ने उल्लेख छ । सोही दफाको उपदफा २ मा कुनै व्यक्ति, संस्था वा निकायलाई जलस्रोतको उपयोग गर्न अनुमति प्रदान गर्नुअघि आयोगसँग सहमति लिनुपर्ने उल्लेख छ । संविधानले तीन तहको सरकार बनाए पनि आयोगसँग सहमति लिनुपर्ने विषय राखेर अधिकार केन्द्रीकृत नै गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष प्रकाशचन्द्र दुलालले बताए ।

प्रस्तावित विधेयकको दफा २३ मा जलस्रोत संरक्षणको व्यवस्था छ । उक्त दफाको उपदफा १ को ‘क’ मा कुनै नदी वा खोलामा निर्मित आयोजनाको बाँधभन्दा तल्लो भागमा नदीको न्यूनतम बहावको कम्तीमा १५ प्रतिशत वा वातावरणीय अध्ययन प्रतिवेदनले सिफारिस गरेको बहावमध्ये जुन बढी हुन्छ, त्यस परिमाणको वातावरणीय जलप्रवाह बाह्रै महिना अविरल रूपमा प्रवाहित हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

२०४९ को दफा ४ को उपदफा ३ मा जलस्रोत उपयोग गर्ने व्यक्ति वा संस्थाले अरूलाई मर्का नपर्ने गरी लाभदायक उपयोग गर्नुपर्ने उल्लेख थियो । जलविद्युत् विकास नीति, २०५८ को ६.१.१ अनुसार नदी, खोलाको न्यूनतम मासिक औसत बहावको कम्तीमा १० प्रतिशत वा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनबाट देखिएको न्यूनतम आवश्यक मात्राको पानी नदी, खोलामा छोड्ने व्यवस्था मिलाइने उल्लेख छ । पहिला १० प्रतिशत रहेकामा अहिले १५ प्रतिशत बनाएर सरकारले निजी क्षेत्रलाई अप्ठ्यारोमा पारेको दुलालको भनाइ छ । 

‘१५ प्रतिशत वा वातावरणीय अध्ययन प्रतिवेदनले सिफारिस गरेको जुन बढी हुन्छ, त्यही भनेको छ । यसले हाम्रो आयोजनाको क्षमतामा असर पार्छ, उत्पादन क्षमता घट्छ,’ दुलालले भने, ‘लगानी गरिसकेका आयोजनालाई समस्या पार्छ । सरकारले पुरानो कानुनबमोजिम काम गरिरहेकालाई प्रभाव पार्ने गरी ल्याइएको छ ।’

प्रस्तावित विधेयकको परिच्छेद ९ मा बाँधको वर्गीकरण, सुरक्षा र संरक्षणबारे उल्लेख छ । उक्त विधेयकको दफा ३० मा सरकारले आयोगको सिफारिसमा बाँधको क्षमता, संरचना, डिजाइन र उद्देश्यका आधारमा बाँधको वर्गीकरण गर्नेछ । दफा ३१ को उपदफा १ मा बाँधको सुरक्षा नेपाल सरकारले गर्ने उल्लेख छ । सोही दफाको उपदफा २ मा बाँध सञ्चालक आफैंले निर्माण तथा सञ्चालन गरेको बाँधको सुरक्षाका लागि नेपाल सरकारलाई अनुरोध गर्न सक्ने व्यवस्था छ । 

उपदफा ३ मा २ बमोजिम अनुरोध भई नेपाल सरकारले सुरक्षा प्रबन्ध गरेकामा त्यस्तो प्रबन्ध गर्दा लाग्ने सम्पूर्ण खर्च बाँध सञ्चालकले बेहोर्नुपर्ने व्यवस्था छ । बाँधको सुरक्षाका लागि नेपाल सरकारले आवश्यक मापदण्ड बनाउनेसमेत उल्लेख छ । बाँध सुरक्षाबारे स्पष्ट व्यवस्था नरहेको दुलालको भनाइ छ ।

‘बाँधको सुरक्षा नेपाल सरकारले गर्ने भनिएको छ, त्यसका लागि सरकारलाई अनुरोध गर्न सक्ने भनिएको छ, गरेन भने के हुन्छ, त्यसबारे स्पष्ट छैन,’ उनले भने, ‘अर्कोतिर अनुरोध गरे सरकारले सुरक्षा प्रबन्ध गर्ने र त्यसको सम्पूर्ण खर्च बाँध सञ्चालकले बेहोर्नुपर्ने पनि भनिएको छ । त्यसो भए अनुरोधन किन गर्ने ! नगरे सञ्चालक आफैंले सुरक्षा गर्न सक्ने हो ? गोलमटोल छ ।’

दफा ३२ मा १ मा बाँधको संरक्षण गर्ने दायित्व बाँध सञ्चालकको हुने र उपदफा २ मा बाँधको संरक्षण गर्न बाँध सञ्चालकका लागि दायित्व र जिम्मेवारी तोकिएको छ । दफा ३३ मा बाँध सञ्चालकले बाँध वर्गीकरणका आधारमा प्रत्येक पाँच वर्षमा स्वतन्त्र विज्ञ समूहमार्फत विस्तृत मूल्यांकन गराउनुपर्ने उल्लेख छ । 

लामो समयदेखि प्रतीक्षामा रहेको यस ऐनले संघीय संरचनाको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोतको अधिकार, कर्तव्य र जिम्मेवारीलाई स्पष्टता प्रदान गर्दै जलस्रोतको बहुआयामिक उपयोग संरक्षण, दिगो विकास अन्तरपुस्ता न्याय र जलजन्य विपद् न्यूनीकरणलाई प्राथमिकता दिएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको भनाइ छ ।

‘आगामी दिनमा यस ऐनको प्रभावकारी कार्यान्वयनमार्फत जलस्रोतलाई राष्ट्रको समृद्धिको आधार बनाउने हाम्रो प्रतिबद्धता छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जलस्रोतको उचित उपयोग संरक्षण र व्यवस्थापनले मात्र दिगो विकासको परिकल्पना पूरा हुन सक्छ भन्नेमा हामी दृढ छौं ।’

जल तथा ऊर्जा आयोगलाई प्रस्तावित विधेयकमा समेटिएको छ । जल तथा ऊर्जा स्रोतको एकीकृत विकास, व्यवस्थापन एवं व्यापक उपयोग गर्ने उद्देश्यले २०३२ मा सरकारले जल तथा ऊर्जा आयोगको गठन गरेको थियो । २०३८ यता स्थायी सचिवालयसमेत स्थापना गरिएको थियो । १५ असार २०४९ र २० पुस २०५५ को सरकारको निर्णयअनुसार आयोग र सचिवालयको संगठनात्मक स्वरूप एवं कार्यक्षेत्र तोकिएको थियो । यसलाई हाल प्रस्तावित जलस्रोत विधेयकमा समेटिएको हो ।

प्रस्तावित विधेयकमा दफा ६ देखि १३ सम्म जल तथा ऊर्जा आयोगको स्थापना, नियुक्ति, काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । दफा ६ मा ऊर्जामन्त्रीको अध्यक्षतामा रहने आयोगको गठन, दफा ७ मा पदाधिकारी सिफारिस समिति, दफा १० मा आयोगको काम, कर्तव्य र अधिकार तथा दफा १३ मा अनुगमन र नियमनका लागि ‘कार्यकारी समिति’ रहने विस्तृत व्यवस्था छ । तर आयोगका पदाधिकारीमा प्रदेश र स्थानीय तहलाई नसमेटिएकाले प्रस्तावित विधेयक संघीयता, निजी क्षेत्रमैत्री नरहेको दुलाल बताउँछन् । 

२०४९ को ऐन को दफा ५ र ६ मा सामूहिक लाभका लागि ‘जल उपभोक्ता संस्था’ गठन गर्ने र त्यो संगठित संस्था हुने व्यवस्था थियो, आयोगबारे कल्पना गरिएको थिएन । आयोगले जलस्रोत तथा ऊर्जासँग सम्बन्धित नीति रणनीति तयारी तथा अद्यावधिक गरी सिफारिस गर्नेलगायत जिम्मेवारी तोकेको छ । 

ऊर्जामन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप सशक्त, अधिकारसम्पन्न र प्रभावकारी बनाई जलस्रोतको समग्र व्यवस्थापनमा एकीकृत तथा प्राज्ञिक दृष्टिकोण अवलम्बन गर्ने गरी जलस्रोत विधेयकमा प्रस्ताव गरिएको बताएका छन् । 

२०४९ को ऐनको दफा ४ जलस्रोत उपयोगबारे व्यवस्था छ । उक्त उपदफा १ मा ऐनबमोजिम अनुमति प्राप्त नगरी कसैले पनि जलस्रोतको उपयोग गर्न पाउने छैन । उपदफा २ मा व्यक्तिगत वा सामूहिक रूपमा अफ्नो निमित्त खानेपानी र अन्य घरेलु प्रयोगका लागि उपयोग गर्न, व्यक्तिगत वा सामूहिक रूपमा आफ्नो जग्गाको सिँचाइ गर्न, घरेलु उद्योगका रूपमा पानीघट्ट वा पनचक्की चलाउन, व्यक्तिगत रूपमा स्थानीय आवागमनका लागि डुंगा प्रयोग गर्न, जग्गाधनीले आफ्नो जग्गाभित्र सीमित रहेको जलस्रोत तोकिएबमोजिम उपयोग गर्न अनुमतिपत्र लिनुपर्ने छैन ।

प्रस्तावित विधेयकमा जलस्रोत उपयोगको अधिकार तोकिएको छ । जलस्रोतको संरक्षण र उपयोगको बहुआयामिक विकास र व्यवस्थापन गर्ने अधिकार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुने उल्लेख छ । उक्त दफाअनुसार अनुसूची १ मा सिँचाइसम्बन्धी संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार तोकिएको छ । 

सिँचाइतर्फ हिमाली र पहाडी क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी र तराई, मधेश तथा भित्री मधेश क्षेत्रमा पाँच हजार हेक्टरभन्दा बढी सिञ्चित क्षेत्र भएको सिँचाइ आयोजना संघ सरकारको क्षेत्राधिकारभित्र पर्छ । पाँच हजार वर्गमिटरभन्दा बढी पहिरो नियन्त्रण आयोजना, नदीको एकातर्फ वा दुवैतर्फ गरी १० किलोमिटरभन्दा बढी लम्बाइको तटबन्धन वा नियन्त्रण कार्यलगायत संघ सरकारमा पर्छ । 

प्रदेश सरकारको क्षेत्राधिकारभित्र हिमाली र पहाडी क्षेत्रमा दुई सय हेक्टरसम्म र तराई, मधेश तथा भित्री मधेश क्षेत्रमा पाँच हजार हेक्टरसम्म सिञ्चित क्षेत्र भएको सिँचाइ आयोजना, डिप ट्युबवेल तथा लिफ्ट सिँचाइ आयोजना, प्रदेशभित्रका एकभन्दा बढी पालिकामा सञ्चालन हुने सिँचाइ आयोजना, एक हजारदेखि पाँच हजार वर्गमिटरसम्मका पहिरो नियन्त्रण आयोजना, नदीको एकातर्फ वा दुवैतर्फ गरी दस किलोमिटरसम्म लम्बाइको तटबन्धन वा नियन्त्रण कार्यलगायत प्रदेश सरकार मातहत पर्छ । स्यालो ट्युबवेलबाट गरिने सिँचाइ आयोजना, एक हजार वर्गमिटर क्षेत्रफलभन्दा साना पहिरो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्य स्थानीय सरकारको क्षेत्रभित्र राखिएको छ । 

विद्युत्तर्फ दुई वा दुईभन्दा बढी प्रदेशको सिमानामा पर्ने विद्युत् उत्पादन आयोजना, प्रदेश सरकार र स्थानीय तहको अधिकार क्षेत्रबाहेक विद्युत् उत्पादन आयोजना, विद्युत् व्यापार संघीय सरकारको क्षेत्राधिकारमा पर्छ । पाँच मेगावाटभन्दा बढी २५ मेगावाटसम्म जडित क्षमताको आयोजना र दुई वा दुईभन्दा बढी स्थानीय तहको सिमानामा पर्ने ५ मेगावाटसम्म जडित क्षमताका विद्युत् आयोजना प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्छन् । ५ मेगावाटसम्म जडित क्षमताको विद्युत् आयोजना स्थानीय सरकार मातहत पर्छ ।

२०४९ को दफा ७ मा जलस्रोतको उपयोग गर्दा साधारणतया प्राथमिकता क्रमअनुसार गर्नुपर्नेछ । खानेपानी र घरेलु उपयोग, सिँचाइ, पशुपालन तथा मत्स्यपालन जस्ता कृषिजन्य उपयोग, जलविद्युत्, घरेलु उद्योग, औद्योगिक व्यावसायिक तथा खानीजन्य उपयोग, जल यातायात, आमोदप्रमोद उपयोग र अन्य उपयोगलाई प्राथमिकीकरण गरेको छ । 

प्रस्तावित विधेयकको दफा ५ मा जलस्रोतको उपयोगको प्राथमिकताक्रम तोकिएको छ । सुरुमा खानेपानी, घरेलु उपयोग (पशुपालन र मत्स्यपालनसमेत) र जलचरलाई सुरुमा राखिएको छ । सिँचाइ, जलविद्युत्, धार्मिक, सांस्कृतिक प्रयोजन, खनिज व्यावसायिक र औद्योगिक उपयोग, जल यातायात, आमोदप्रमोद तथा पर्यटन र वन्यजन्तु उपयोगअनुसार प्राथमिकीकरण गरिएको छ । 

प्रस्तावित विधेयकको दफा ५ को उपदफा ३ मा खडेरी, बाढी जलवायु परिवर्तन वा अन्य प्राकृतिक कारणले जलस्रोतको उपलब्ध परिमाण घटबढ भएमा आयोगको सिफारिमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जलस्रोतको उपयोगको परिमाणमा हेरफेर गर्न सक्नेसमेत उल्लेख छ ।

Page 11
समाचार

एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर म्युजिक अवार्ड २६ असारमा

- कान्तिपुर संवाददाता
'एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ बारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा दायाँबाट क्रमशः कान्तिपुर मिडिया ग्रुपकी कर्पोरेट म्यानेजर सिम्रन श्रेष्ठ, कान्तिपुर पब्लिकेशन्स्का चिफ मार्केटिङ अफिसर सागर केसी, इभेन्ट म्यानेजर प्रतीक्षा कर्माचार्य र मानव संसाधन प्रमुख परमानन्द खनाल । तस्बिर : दीपक केसी/कान्तिपुर 

‘एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ को ८औं संस्करण आगामी २६ असारमा हुने भएको छ । अवार्ड वितरण कार्यक्रम ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा हुनेछ ।

रेडियो कान्तिपुरले आफ्नो २८औं वार्षिकोत्सवका अवसरमा म्युजिक अवार्डको कार्यक्रम गर्न लागेको हो । कार्यक्रम सांगीतिक महोत्सवका रूपमा रहने रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यस पटक कार्यक्रममा सयभन्दा बढी कलाकार सहभागी हुनेछन् । कार्यक्रममा मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ ।

कान्तिपुर पब्लिकेशन्स्का चिफ मार्केटिङ अफिसर सागर केसीले यो अवार्ड नेपाली संगीत उद्योगको साझा थलो भएको बताए । ‘यो कार्यक्रम समग्र नेपाली संगीतकै उत्थान गर्ने इभेन्टका रूपमा रहनेछ,’ उनले भने ।
कान्तिपुर मिडिया ग्रुपकी कर्पोरेट म्यानेजर सिम्रन श्रेष्ठका अनुसार यो वर्ष कुल १४ सांगीतिक विधामा अवार्ड दिइनेछ, जसमा उत्कृष्ट नवगायक/गायिका, रचनाकार, संगीत निर्देशक, लोकदोहोरी, पार्श्व गायन, पप, सांगीतिक समूह, हिपहप/आर एन्ड बी, आधुनिक विधालगायत छन् ।

१ वैशाख २०८२ देखि गत चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली गीतहरूमध्येबाट हरेक विधामा उत्कृष्ट ५ को मनोनयन गरिएका छन् । यसका लागि तीन सदस्यीय जुरी गठन गरिएको थियो । तिनैमध्येबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।

संगीतमा लामो समय योगदान गरेका एक विशिष्ट व्यक्तित्वलाई १ लाख रुपैयाँ राशिको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । श्रोताले ई–सेवामार्फत भोट गरेर छनोट गर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ को विधा पनि यसमा समावेश छ । आयोजकका अनुसार यो वर्ष ‘एक्स्ट्रिम एनर्जेटिक पफर्मर अफ द इयर’ अवार्ड पनि विशेष आकर्षणका रूपमा रहनेछ ।

यस सांगीतिक महोत्सवमा चर्चित कलाकारहरूले आफ्ना प्रस्तुतिहरू दिनेछन् । कार्यक्रममा दीपक बज्राचार्य, उजके, जोन एन्ड द लोकल्स, समृद्धि राई र मन्त्र ब्यान्डको सांगीतिक प्रस्तुति रहनेछ । ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पाउने स्रष्टाको सम्मानमा शिव परियार, यमन श्रेष्ठ र सलिना बीकेले विशेष प्रस्तुति दिनेछन् । प्रभात लामा र कर्मा सिंह लामाले प्रहसनमार्फत मनोरन्जन गराउनेछन् । युवापुस्तामा लोकप्रिय र्‍यापर सजेश श्रेष्ठको पनि विशेष प्रस्तुति रहनेछ ।

Page 12
खेलकुद

जर्मनीले पूरा गर्न नसकेको वाचा

जर्मनीका प्रशिक्षक नागेल्समनको प्रतियोगितापूर्व दाबी थियो–‘जर्मनीको उद्देश्य विश्वकप उपाधि जित्नु हो’
- एपी
पाराग्वेसँग पराजित भएपछि निराश मुद्रामा जर्मनीका प्रशिक्षक जुलियन नागेल्समन (बायाँ) ।तस्बिर : एपी

एक अर्को विश्वकप । एक अर्को चाँडै बाहिरिएको कटु सत्य । अहिले त जर्मनीलाई निराश हुने पनि बानी परिसकेको हुनुपर्छ । तर यसमा पक्कै पीडा हुनुपर्छ । आखिरमा पाँचौंपल्ट विश्वकप जित्ने झुटो वाचा गरेको जर्मनीले अहिले आफ्नो पुरानो प्रतिष्ठासमेत फर्काउन सकेको छैन । विश्वास नहुन सक्छ, जर्मनीले सन् २०१४ मा विश्वकप जितेयता अहिले नै हो, पहिलो पटक लिग चरण काटेको । 

तर सोमबारको खेलमा पाराग्वेसँग टाइब्रेकरमा पराजित भएपछि जर्मनी नकआउट चरणको पहिलो खुड्किलोपछि नै घर फर्कने भएको छ । फक्सबोरोमा पत्रकारसँगको कुराकानीमा जर्मनीका जोसुआ किमिचले भने, ‘हामीले केही राम्रो गर्न सकेनौं ।’ 

सन् २०२२ मा कतारमा भएको विश्वकपका बेला पनि समूह चरणबाटै जर्मनी बाहिरिएपछि यसका कप्तानले हारको कारण नै यही हो भनेर विश्लेषण गर्न सकेनन् । ३१ वर्षीय किमिच भन्छन्, ‘जति बेला हामी सानो थियौं, हामीले जर्मन टिमको खेल हेर्दा कि त त्यो सेमिफाइनल हुन्थ्यो कि फाइनल । अझ च्याम्पियन नै हुन्थ्यो । जर्मन टिम लगातार सफल थियो । हामी यही हेरेर हुर्केका थियौं ।’ त्यसैले उनले टिमको अहिलेको प्रदर्शनलाई लिएर माफी पनि मागेका छन् । 

प्रशिक्षक जुलियन नागेल्समन पनि चर्को आलोचनाबाट गुज्रिरहेका छन् । संन्यास लिइसकेका भेट्रान गोलरक्षक म्यानुयल नोयालाई फेरि मैदानमा फर्काउन मनाउने यिनै प्रशिक्षक थिए । त्यसबीच नोयाले फेरि जर्मन टिमका लागि खेल्ने अनुरोध स्वीकारेका थिएनन् । तर अहिले ४० वर्षीय खेलाडीले आफू जर्मन टिममा रहनुको औचित्य साबित गर्न सकेनन् । समूह चरणमा इक्वडेरले गरेको निर्णायक विजयी गोल पनि उनकै भुलमा सम्भव भएको थियो । 

नोयाले खेलेपछि होफेनहेनका गोलरक्षक ओलिभर बौमनले मौका नै पाएनन् । तर नोया भन्छन्, ‘मैले सक्दो खेलेको भने हुँ ।’ केही दबाबमा आएपछि नागेल्समनले पाराग्वेविरुद्ध डेनिज उनडभलाई सुरुदेखि खेलाए । तर यी कुर्दिस मूलका खेलाडी सुरुआती दुई खेलमा गरेको तीन गोल र थप दुई गोलमा गरेको सहयोगी भूमिकालाई बढाउन सकेनन् । 

नागेल्समनको किन पनि आचोलना गरिएको छ भने फरवार्ड निक वोल्टमेडलाई पनि मौका दिएनन् । उनलाई पाराग्वेविरुद्ध अतिरिक्त समयमा मैदानमा प्रवेश त गराइएको थियो, तर त्यतिबेला पर्याप्त समय नै बाँकी थिएन । जर्मनीका लागि टाइब्रेकरमा तीन खेलाडी पेनाल्टीमा चुकेका थिए । त्यसमा एक यिनै वोल्टमेड पनि थिए ।

प्रतियोगिताअगाडि नागेल्समनको दाबी थियो, जर्मनीको उद्देश्य विश्वकप उपाधि जित्नु नै हो । तर यो दाबी झुटो वाचाभन्दा बढी केही रहेन । त्यत्रो विश्वकप जित्ने दाबीलाई न्याय गर्ने खालको प्रदर्शन नै जर्मन टिमबाट भएन । यसपल्टको विश्वकपमा जर्मनीले चार खेल खेलेकामा दुई जित मात्र निस्केको थियो, त्यो पनि डेब्यु गरिरहेको कुरासाओ र आइभोरी कोस्टविरुद्ध । इक्वडेर र पाराग्वेविरुद्ध पनि जर्मनी पराजित रह्यो । 

जर्मनीलाई हराएपछि पाराग्वेमा खुसीको लहर देखिएको थियो । विश्व फुटबलकै यो एक स्तब्धपूर्ण नतिजा मानिएको छ । खेल सुरु हुन अगाडि जर्मन समर्थकलाई पाराग्वेका एकै जना खेलाडीबारे पनि ढंगको जानकारी थिएन । अझ जर्मनीको एक नजर अन्तिम १६ मा थियो, जहाँ उसको सम्भावित भेट फ्रान्ससँग हुन सक्थ्यो नभए स्विडेन ।

नोयाले पछि भने, ‘पाराग्वे जत्तिको टिमलाई हामीले हराउनुपर्थ्यो । हाम्रो तुलनामा त खासमा फ्रान्स जस्तो टिमसँग हुनुपर्थ्यो ।’ नागेल्समनले अझै पनि आफू जर्मन टिमको प्रशिक्षकमै कायम हुने बताइरहेका छन् । मिडियासामु उनलाई अनेक आलोचनात्मक प्रश्न पनि गरिए । यसक्रममा जर्मन टिमका निर्देशक रुडी भोलरले भने, ‘सायद अझै पनि जर्मन टिमका लागि उनी नै ठीक छन् ।’

जर्मन चान्सलर फ्रेडरिच मर्जले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्या गजब खेल रह्यो । जर्मन टिमको खेलले सबै उत्साही भएका छन् । खेलाडीको समर्पण र टिम भावना प्रशंसायोग्य रह्यो । जर्मन टिमको प्रदर्शनमा गर्व छ ।’ 

सायद विश्वकपमा के भएको थियो, उनले हेक्का नै राख्न सकेनन् । त्यसैले चान्सलरको भनाइमा सबैको एउटै प्रश्न थियो, ‘यस्तो प्रदर्शन जर्मन टिमबाट कुन खेलमा भएको थियो ?’

खेलकुद

इंग्ल्यान्डलाई कंगो चुनौती बन्न सक्ने

कंगो त्यस्तो विपक्षी टिम रहनेछ, जसका विरुद्ध सामान्य भुल पनि महँगो हुने डर छ । थोमस टचेल (तस्बिरमा) को इंग्ल्यान्ड समूह ‘एल’ मा अन्तिममा हराएर जित्न सफल थियो ।
- कान्तिपुर संवाददाता

इंग्ल्यान्डले विश्वकप २०२६ मा त्यो लय हात पार्न सकेको छैन, जुन अपेक्षित थियो । जतिबेला इंग्ल्यान्डले बुधबार अन्तिम ३२ को खेलमा डीआर कंगोको सामना गर्दा टोलीलाई गाह्रो हुन सक्नेछ । कंगो त्यस्तो विपक्षी टिम रहनेछ, जसका विरुद्ध सामान्य भुल पनि महँगो हुने डर छ । थोमस टचेल (तस्बिरमा) को इंग्ल्यान्ड समूह ‘एल’ मा अन्तिममा हराएर जित्न सफल थियो । 

यसै कारण धेरै हदसम्म इंग्ल्यान्डका लागि अबको बाटो सहज देखिन्छ । यति हुँदाहुँदै पनि इंग्ल्यान्डले उच्च प्रदर्शन गर्न सकेको छैन । घानाविरुद्ध लिग चरणको दोस्रो खेलमै निराशाजक गोलरहित बराबरीमा टुंगिएको थियो । पानामाविरुद्ध भने जुड बेलिङ्घम र ह्यारी केनले गोल गरेका थिए । तर प्रतियोगिता अगाडि बढ्दै जाँदा अरू खेलाडीबाट पनि गोल अपेक्षित हुनेछ । 

क्रोएसियाविरुद्ध पहिलो खेलमा इंग्ल्यान्डको ४–२ को जित भने रोमाञ्चक रह्यो । लिग चरणमा इंग्ल्यान्डको समग्र प्रदर्शनको विशेषता थियो, कल्पनाशीलतामा कमी, आक्रमणमा कमजोर र उपाधिको प्रत्याशीको छवि बनाउन नसक्नु । बुधबार एटलान्टामा हुने नकआउट चरणको खेलमा इंग्ल्यान्डसामु यी सबै समस्या जसरी पनि समाधान गर्नुपर्नेछ । 

कंगो भने तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टिममध्ये एकको हैसियत बोकेर दोस्रो चरणसम्म पुगेको हो । लिग चरणमा कंगो एकपल्ट प्रतियोगिताबाट बाहिरिने स्थितिबाट गुज्रिएको थियो । त्यसयता टोलीले राम्रो प्रदर्शन गरेको छ । एटलान्टामै भएको खेलमा कंगोले उज्वेकिस्तानमाथि ३–१ को प्रभावशाली जित निकालेको थियो । यो खेलमा कंगोलाई अघि बढ्न जित अनिवार्य थियो । 

सवास्टिन डेसाब्रेको टिमले उज्वेकिस्तानविरुद्ध दुई आक्रमणमा दुई खेलाडी उतारेको थियो । तय छ, इंग्ल्यान्डविरुद्ध उनले पछाडि ५ खेलाडी रक्षापंक्तिमा उतार्ने छ । लिग चरणमा कंगाले यही रणनीति उपयोग गरेर पोर्चुगललाई १–१ को बराबरीमा रोकेको थियो भने कोलम्बियासँग १–० को साँघुरो हार बेहारेको थियो । कंगो यस्तै प्रदर्शन दोहोर्‍याउने पक्षमा हुनेछ । 

इंग्ल्यान्डका लागि मिडफिल्डर डेक्लन राइस फेरि सुरुआती ११ मा फर्किन सक्नेछन्, तर अझै पनि राइट ब्याकलाई लिएर समस्या यथावत् छ । राइस चोटका कारण पानामाविरुद्धको खेलमा देखिएनन् । टिमले सक्दो बढी सटिक आक्रमण बुन्नुपर्नेछ । कंगोका लागि अहिलेसम्मको प्रदर्शन नै एक प्रकारले सफलता मान्न सकिन्छ । 

यस्तो किनभन्दा यसअघिको एक्लो विश्वकप सहभागितामा यो देश लिग चरणमै रोकिएको थियो । त्यतिबेला सन् १९७४ को विश्वकपमा टोलीले जायरको नाममा खेलेको थियो र पहिलो अनुभव सुखद रहेन । जायरले त्यति बेला एकै गोल पनि गर्न सकेन र उल्टै १४ गोल खाएको थियो । युगोस्लाभियाविरुद्धको खेलमा ९ गोल खाएको थियो । विश्वकप छनोटमा भने कंगोले जमैकाको चुनौती पन्छाएको थियो । 

अर्कोतर्फ इंग्ल्यान्डलाई त्यस्तो टिम मानिएको छ, जसले यस विश्वकपमा लामै दूरी तय गर्ने मानिएको छ । इंग्ल्यान्ड ६० वर्षयता पहिलो ठूलो उपाधि जित्ने अभियानमा छ । त्यसलाई साकार पार्ने हो भने कम्तीमा अहिलेका लागि कंगोविरुद्ध सुदृढ खेल प्रदर्शन गर्नुपर्ने हुन्छ । यो खेलको विजेताले अन्तिम १६ मा मेक्सिको र इक्वडेरबीच हुने खेलको विजेताको सामना गर्नेछ ।

खेलकुद

जापानको महत्त्वाकांक्षामा आघात

एसियाकै सबैभन्दा राम्रो टिम विश्वकप उपाधि जित्ने ठूलो महत्त्कांक्षासहित उत्तर अमेरिका आइपुगेको थियो । तर अहिले जापानको विश्वकप जित्ने सपना धेरै टाढाको साबित भएको छ ।
- कान्तिपुर संवाददाता

जबसम्म आफ्नो नम्बर एक खेल फुटबल हुँदैन, जापानले कहिल्यै पनि विश्वकप जित्ने छैन । यो भनाइ हो, दाइची कमादाको । जापान विश्वकप २०२६ को अन्तिम ३२ मा ब्राजिलसँग पराजित भएपछि यो भनाइ आएको हो । 

एसियाकै सबैभन्दा राम्रो टिम विश्वकप उपाधि जित्ने ठूलो महत्त्कांक्षासहित उत्तर अमेरिका आइपुगेको थियो । तर अहिले जापानको विश्वकप जित्ने सपना धेरै टाढाको साबित भएको छ । जापानले पाँचपल्ट विश्वकपको नकआउट चरण खेलेको छ । 

अहिलेसम्म एकै खेलमा पनि जित निकाल्न सकेको छैन । जापानमा फुटबलको तुलनामा बेसबल बढी लोकप्रिय मानिन्छ । कमादा भन्छन्, जापानले फुटबलमा प्रगति गर्ने हो भने यो स्थितिमा सुधार हुनुपर्छ । उनी भन्छन्, ‘विश्वकप जित्ने सपना बोक्ने हो भने जापानको फुटबल स्तर अझ माथिल्लो स्थानमा हुनुपर्छ ।’

क्रिस्टल प्यालेसका खेलाडीको तर्क थियो, ‘हामी सबैले जापानको फुटबल विकासमा प्रयास गरिरहनुपर्छ । जति बेलासम्म यो जापानको प्रमुख खेल हुन्न, हामीले विश्वकप जित्न सक्दैनौं ।’ 

जापानले ब्राजिलविरुद्ध पहिलो हाफमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेको थिएन । खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला ब्राजिलका ग्याब्रियल मार्टिनेलीले ९५ औं मिनेटमा निर्णायक गोल गरे । यस जितसँग ब्राजिल प्रतियोगिताको अन्तिम १६ चरणमा पुग्यो भने जापानले भने त्यो प्रश्नको उत्तर खोजेको छ, जसले सोधेको छ, विश्वकप जित्न साँच्चै के गर्नुपर्छ ? 

जापानी डिफेन्डर सोगो तानिगुची भन्छन्, ‘हामी जसरी हारेका छौं, त्यो असाध्यै निराशाजनक छ । जसरी हामीले यो विश्वकपका लागि तयारी गरेका थियौं, त्यस अनुसार हाम्रो प्रदर्शन अहिलेभन्दा राम्रो हुनुपर्ने हो ।’ 

जापान यसपल्टको विश्वकपमा छनोट हुने पहिलो टिम थियो । यही विश्वकपको तयारीका क्रममा जापानले ब्राजिल र इंग्ल्यान्डलाई पनि हराएको थियो । तर विश्वकप सुरु हुनु नै अगाडि प्रमुख खेलाडी कोउरु मितोमा, ताकुमी मिनामिनो र वातरु इन्डो घाइते भए । लिग चरणमा नेदरल्यान्ड्स र स्विडेनसँग बराबरी खेलेको जापानको लिगको प्रदर्शन राम्रो थियो । 

त्यसैले गोलरक्षक जियोन सुजुकी भन्छन्, ‘टिममा अझै सुधारको स्थान छ । हामी अझै पनि खास खास मोडमा कमजोर देखएिका छों । मलाई के लाग्छ जापानी फुटबलमा अझै पनि सुधार आवश्यक छ ।’ जापानको ध्यान अब जनवरीमा साउदी अरेबियामा हुने एसिया कपमा मोडिने छ ।

खेलकुद

प्लेयर्स टु वाच : डेक्लन राइस (इंग्ल्यान्ड)

२७ वर्षे राइस कत्तिको महत्त्वपूर्ण खेलाडी हुन् भने इंग्ल्यान्डले पानामाविरुद्धको तेस्रो खेलमा उनलाई आराम दिएर नकआउट चरणका लागि ‘फ्रेस’ राखेको कारण नै थाहा हुन्छ ।
- कान्तिपुर संवाददाता

डेक्लन राइसले इंग्ल्यान्डबाट समूहचरणमा क्रोएसिया र घानाविरुद्धको दुबै खेलमा सुरुआत गरेका थिए । यी दुई खेलबाटै इंग्ल्यान्डले नकआउट चरणको यात्रा तय गरेको थियो ।

२७ वर्षे राइस कत्तिको महत्त्वपूर्ण खेलाडी हुन् भने इंग्ल्यान्डले पानामाविरुद्धको तेस्रो खेलमा उनलाई आराम दिएर नकआउट चरणका लागि ‘फ्रेस’ राखेको कारण नै थाहा हुन्छ । डिफेन्सिभ मिडफिल्डमा खेल्ने उनी इंग्ल्यान्डको आक्रामण तयार पार्ने आधार हुन् ।

उनी मिडफिल्डमा खुलेर खेल्न सक्छन् । बल पछ्याउने र ट्याक्लिङ गर्ने ठूलो क्षमताका कारण उनी विश्वका शीर्ष स्तरका मिडफिल्डमा पर्छन् । 

यसै सिजन आर्सनललाई २४ वर्षपछि प्रिमियर लिगको उपाधि दिलाउन ठूलो भूमिका खेलेका उनी चेल्सी एकेडेमीका हुन् । उनी एकेडेमीमा मेसन माउन्टलगायतका खेलाडीसँगै हुर्किए ।

तर चेल्सीले उनलाई रिलिज गरिदियो । २०१५ देखि उनले वेस्ट ह्यामबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । २०२३ सम्म वेस्ट ह्यामको टोलीबाट खेल्नेक्रममा उनले यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेका थिए ।

त्यसपछि उनी १० करोड पाउन्ड सरुवा रकममा आर्सनल लागे, जुन इंग्लिस खेलाडीका लागि खर्चिएको सबैभन्दा ठूलो रकम थियो । राइसले २०२२ को विश्वकप पनि खेलेका थिए । २०२० र २०२४ मा इंग्ल्यान्डलाई उपविजेता बनाउँदा उनी प्रमुख खेलाडीको रूपमा रहेका थिए ।