रास्वपा महाधिवेशनमा रवि–वालेन्द्रको सन्देश; गणतन्त्रमा प्रतिबद्ध, पार्टीमा एकढिक्का
चितवनको भरतपुरस्थित रास्वपाको महाधिवेशन स्थलमा आइतबार अपराह्न सवा ३ बजे प्रधानमन्त्री वालेन्द्र शाह गाडी हाँकेर आइपुगे । त्यही गाडीबाट सभापति रवि लामिछाने ओर्लिए । यस दृश्यले धेरैको ध्यान खिच्यो । गाडीको स्टेयरिङमा प्रधानमन्त्री शाह र छेवैको सिटमा पार्टी सभापति लामिछाने देखिएका थिए ।
चार वर्षअघि पार्टी दर्तापछि पहिलो सभा गरेको जिल्ला फर्किएर नीति र नेतृत्व चयनका लागि तोकिएको स्थल आइपुग्दा लामिछाने र शाहलाई झरीले स्वागत गर्यो । दुई नेता एकसाथ देखिनासाथ समर्थकले ‘हुटिङ’ गरे । छाता ओढेर लामिछाने र शाह महाधिवेशनस्थल प्रवेश गरे ।
पहिलो महाधिवेशन उद्घाटन समारोहमा रास्वपालाई शुभकामना दिन विभिन्न दलका नेता आइपुगेका थिए । उनीहरूले रास्वपाको विचार, सरकार सञ्चालन शैली, भूराजनीतिक सन्तुलन, गुटबन्दीदेखि दुई नेताबीच हुन सक्ने टकरावको प्रसंग निकाले, कतिपय विषयमा प्रश्न उठाए । गएको आमनिर्वाचनमा प्राप्त जनादेशलाई सदुपयोग गर्न पनि उनीहरूले सुझाव दिए । अन्य दलका नेताले राखेका चासोमा रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता शाहले प्रस्ट पारे । खासगरी वर्तमान संविधान तथा लोकतान्त्रिक गणतन्त्र, शासन पद्धति, संघीयताका विषयमा दुवै नेताले आफ्नो योजना र नीतिबारे अभिव्यक्ति दिए ।
सभापति लामिछानेले प्रधानमन्त्रीमा पाँचै वर्ष शाह रहने प्रस्ट्याए भने प्रधानमन्त्री शाहले पार्टीमा कुनै पक्ष–विपक्ष नहुने उद्घोष गरे । दुवै नेताले पार्टीभित्र गुटगत राजनीति नगर्न नेता–कार्यकर्तालाई चेतावनीसमेत दिए ।
पार्टी सभापति लामिछानेले आफूहरूलाई लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास हुने बुझेको बताए । आफूहरूले नेपाली जनता र इतिहासलाई साक्षी राखेर गरेको सहमतिको एक–एक अक्षर इमानदारीसाथ पालना गर्ने उनको भनाइ थियो । ‘यो हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाफ दिनुपर्नेछ, व्यक्तिको इच्छा ठूलो कुरो होइन,’ लामिछानेले भने ।
सहमति कार्यान्वयनका लागि रास्वपाले चुनावअगावै वरिष्ठ नेताको खुट्टामा बल पुर्याएको लामिछानेले बताउँदा प्रधानमन्त्री शाह मुसुमुसु हाँसेका थिए । ‘भटाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको हुनेछ । उहाँले त्यसको निरन्तरता दिइरहनुभएको छ । झुक्किएर त्यो बल आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो । किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुक्ली लगाइदिनेहरू पनि धेरै छन्,’ उनले भने ।
शुभकामना दिने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘वालेन्द्रले राजा ल्याउँछ भन्ने लागेरसमेत भोट हालेकाहरू छन्’ भनेका थिए भने एमाले नेता प्रदीप ज्ञवालीले रास्वपाको हातमा लोकतन्त्र सुरक्षित होस् भनी जनता आश्वस्त हुन सक्ने परिस्थिति बनोस् भन्दै शुभकामना दिए । यस सन्दर्भमा सभापति लामिछानेले रास्वपाका विगतका दस्ताबेज ध्यान दिएर अध्ययन नगरिएको जनाउँदै आगामी दिनमा दस्ताबेज गहिरिएर अध्ययन गरिनेछ भन्ने लागेको बताए ।
लामिछानेले देश रास्वपाको हातमा सुरक्षित रहेको र संघीय लोकतान्त्रिक गणतन्त्रकै पक्षमा आफूहरू सधैं रहँदै आएको सन्देश दिए । ‘मञ्चमा उपस्थित तमाम राजनीतिक दलका शीर्षस्थ महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु । यहाँहरू निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ । देश सुरक्षित छ,’ उनले भने, ‘लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका मान्यताहरू, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानवअधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशितालगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईंहरूजस्ता मूर्धन्य नेतृत्वले दिएका अमूल्य उपहार हुन् । हामी तिनको जगेर्ना गर्नेछौं ।’
प्रधानमन्त्री शाहले संसद्मा १७ जेठमा सीमाका विषयमा बोल्दा सिर्जना भएको विवादको जवाफ महाधिवेशन उद्घाटन समारोहबाटै दिएका छन् । संसद्मा उनले कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा बेलायतसँग कुरा भइसकेको बताउँदा भारतले समेत प्रतिक्रिया जनाएको थियो ।
‘नबोलूँ भन्छु, बोल्ने दिन आइहाल्छ’ भन्दै आइतबार भाषण थालेका शाहले भारतसँगको सीमा विवाद दुई देश मिलेर समाधान गर्ने र यसमा अन्य मध्यस्थकर्ता नखोज्ने प्रस्टीकरण दिए । ‘सीमाको विषयमा चिन्ता लिनुभएको थियो । हामीले सीमाको विषयमा बोल्दाखेरि आपत्ति जनाउनुभयो, मलाई अचम्म लाग्यो । ठीक छ, अब तपाईंसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ,’ उनले भने, ‘हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ ।’
ब्रिटिसले राज गर्दादेखिको प्रमाण भएकाले ल्याउनुपर्ने भए ल्याउँछौं भन्न खोजिएको उनको भनाइ थियो । ‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौं । हाम्रो छिमेकीसँग आफैं कुरा गरेर मिलाउँछौं,’ उनले भने, ‘हामीसँग प्रमाण छ, हामी ल्याउँछौं । त्यो कुरा गरिएको हो, यसमा आशंका गर्नु पर्दैन ।’ प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रियतामाथि आशंका नगर्न पनि आग्रह गरे ।
उनले रास्वपाको चिन्तन ‘लेफ्ट’, ‘राइट’ र ‘सेन्टर’ के हो भन्ने विषयमा चिन्ता लिइने गरेको जनाउँदै आफूहरूको पार्टी विकासवादी भएको बताए । ‘विकास गर्ने, काम गर्ने पार्टी हो, अगाडि बढ्ने पार्टी हो,’ उनले भने, ‘प्रतिशोध साध्ने, पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइनौं । निहुँ खोज्नुपर्यो भने पनि त्यो विगतमा सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दुरुपयोग भएको छ भने मात्रै खोजिन्छ ।’ त्यही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग ५ घण्टा सोधपुछ गर्नुपर्ने, सरसल्लाह लिनुपर्ने हुन सक्ने जनाउँदै शाहले थपे, ‘हामी पाँच घण्टा मात्र होइन, पाँच वर्ष पनि गर्छौं । पाँच वर्ष अख्तियारसँग बसेर सरसल्लाह गरिन्छ । त्यसमा चिन्ता लिइराख्नु पर्दैन ।’ आफूहरूले नियम, कानुन नमिच्ने पनि उनको भनाइ थियो ।
अख्तियारका पदाधिकारीलाई गत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर राहदानी खरिद प्रकरणमा अनुसन्धान नगरेको भन्दै केरकार गरिएको विषयमा प्रश्न उठ्दै आएको छ । राहदानी खरिद प्रकरणका विषयमा अख्तियारका पदाधिकारीसँग प्रधानमन्त्री कार्यालयमा छलफल भएकै दिनबाट राहदानी विभागका कर्मचारी पक्राउ पर्न थालेका थिए ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल, मिडिया हेर्दा अलिकति अनियन्त्रित देखिन सक्ने भन्दै थपे, ‘तर, त्यो देखिएको मात्रै हो । सबै कुरा नियन्त्रणमै छ । कुनै पनि कुरा नियन्त्रणबाहिर गएको छैन । कुनै विषयमा चिन्ता लिनु पर्दैन ।’
केहीबेर अघि बोलेका एमाले नेता प्रदीप ज्ञवालीले ‘एक्सिलेटर’ र ‘ब्रेक’ बीच उचित सन्तुलन भएन भने दुर्घटना हुने भन्दै निर्णय प्रक्रियामा संयम अपनाउन सुझाव दिएका थिए । शाहले त्यस्तो चिन्ता ‘लोकल’ सडकमा मात्र हुने जनाउँदै भने, ‘हाम्रो गाडी एक्सप्रेस–वेमा हिँडेको हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लगाउन जरुरी हुँदैन । र, हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेर गएको छ ।’
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की भरतपुर आएर लामिछाने र शाहले दुई वटा विषयमा प्रस्ट सन्देश दिएको बताउँछन् । ‘बाहिर अनेक किसिमका टीकाटिप्पणी हुने गरे पनि सभापति र वरिष्ठ नेताले हामी एकै ठाउँमा छौं भन्ने स्पष्ट सन्देश दिनुभएको छ,’ उनले कान्तिपुरसँग भने, ‘सम्बन्धमा केही असर छैन र हामी जुन ठाउँमा छौं, त्यही ठाउँमा रहन्छौं भनेर सबैलाई ढुक्क हुने परिस्थिति बनाउनुभएको छ ।’
पार्टीको विचारका सन्दर्भमा विगतका दस्ताबेज, जलेश्वर बैठकको निर्णयलगायतले स्पष्टता दिएको भए पनि समाजमा अझ आशंका गरिँदै आएकाले त्यसलाई चिर्ने कामसमेत नेताद्वयको मन्तव्यले गरेको कार्की बताउँछन् । ‘विचारका विषयमा हामी पहिल्यैदेखि स्पष्ट हो, महाधिवेशनबाट झन् दुवै नेताले लोकतन्त्रसहितका विषयहरूमा ढुक्क हुन सबैलाई भन्नुभएको छ,’ उनले भने ।
नयाँ पुस्ताका राजनीतिक विश्लेषक नवीन तिवारी रास्वपा सभापति लामिछानेले सन्तुलित विचार राखेको जनाउँदै विगतका कमजोरीलाई सच्याउँदै जाने उनको भनाइको प्रशंसा गर्नुपर्ने बताउँछन् । ‘प्रधानमन्त्री शाहको हकमा चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे दिएको अभिव्यक्तिले शक्ति पृथकीकरणको सिद्धान्त र मर्मलाई बोक्छ जस्तो लाग्दैन,’ उनले कान्तिपुरसँग भने, ‘अरू नेताले आलोचनात्मक टिप्पणीसहित सुझाव दिँदा कतिपय कुरा स्वीकार्न सकिए, केही अभिव्यक्तिचाहिँ आफू जे छु, ठीक छु भन्ने खालको आयो ।’

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)









