१०० बुँदा एकतिहाइ पूरा
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ मध्ये करिब एकतिहाइ कार्यान्वयनमा गएका छन् । सरकारी तथ्यांक, निर्णय, कार्यान्वयनको अवस्था र प्रगतिबारे कान्तिपुर टिमले गरेको विश्लेषणमा एक सय कार्यसूचीमध्ये ३८ वटा कार्यान्वयनमा गएको देखिएको हो ।
गत १३ चैतमा सरकार गठन भएकै दिन २४ घण्टादेखि १ हजार दिनसम्म गर्ने गरी सार्वजनिक प्रशासनिक सेवा प्रवाह सुधार, डिजिटल नेपाल, भ्रष्टाचार नियन्त्रणदेखि कृषि, पूर्वाधार स्वास्थ्य, शिक्षा क्षेत्र सुधारसम्मका कार्यसूची अघि सारिएको थियो । ती कार्ययोजनामध्ये केही क्षेत्रमा उल्लेख्य काम भएको छ भने कुनै क्षेत्रमा सीमित उपलब्धि छ । धेरैजसोमा भने सरकारको प्रतिबद्धता पूरा हुन बाँकी छ । ६२ वटा सूची भने अधुरा छन्, तिनमा कुनै कार्यान्वयन प्रक्रिया नै सुरु भएको छैन ।
परराष्ट्रमन्त्री शिशिर खनाल सरकार जनतालाई आशा जगाउन र सुशासनको अनुभूति दिलाउन सफल रहेको दाबी गर्छन् । ‘अगाडिका सरकार र हामीलाई तुलना गरियो भने धेरै हिसाबले अहिले क्षमता, डेडिकेसन, मोटिभेसन र जनताप्रति समर्पित भावना देखिएको छ । त्यसले केही प्रारम्भिक नतिजा ल्याएको छ । सुशासनको पक्षमा काम भइरहेको छ भन्ने स्पष्ट सन्देश सरकारले दिएको छ,’ उनले कान्तिपुरसित भने ।
कार्यसूचीअन्तर्गत सरकारको सबैभन्दा महत्त्वपूर्ण र तोकिएको समयमै सुरु गरेको बुँदा नं ९९ हो, जसमा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सय दिनभित्र सुरु गर्ने भनिएको छ । सरकारले पहिलो चरणमा १० हजार रुपैयाँभन्दा कम बचत भएको रकम फिर्ता ४ जेठमा सुरु गरेको थियो । अहिलेसम्म १८ सय ९५ जनाको ४ करोड ४३ लाख ४८ हजार १६ रुपैयाँ बचत फिर्ता भएको छ ।
सरकारको अर्को उपलब्धि बुँदा नं ३ अन्तर्गत देखिन्छ । उक्त बुँदामा सबै राजनीतिक दलका घोषणापत्रबाट कार्यान्वयनयोग्य विषय छनोट गरी साझा राष्ट्रिय प्रतिबद्धता तयार गर्ने व्यवस्था थियो । सरकारले यसअनुसार सबै दलका घोषणापत्रहरूको विश्लेषण गरी १८ बुँदे राष्ट्रिय प्रतिबद्धता तयार पारेको छ । तोकिएको समयसीमाभन्दा दुई दिन ढिलो भए पनि यो प्रतिबद्धता १ वैशाखमा सार्वजनिक गरिएको थियो । यसले राष्ट्रिय विकासका साझा एजेन्डामा राजनीतिक सहमति निर्माण गर्ने प्रयास गरेको सरकारको भनाइ छ ।
संविधान संशोधन बहसपत्र तयार गर्न सात दिनभित्र कार्यदल गठन गर्ने कार्यसूची थियो । कार्यदल निर्धारित समयभन्दा ढिलो गठन भए पनि त्यसले विभिन्न राजनीतिक दल, संवैधानिक निकाय तथा सरोकारवालासँग छलफल अघि बढाइरहेको छ । सरकारले यसलाई दीर्घकालीन राजनीतिक सुधारको थालनीका रूपमा व्याख्या गरेको छ ।
कार्यसूचीको ६ नम्बरमा उल्लेख भएबमोजिम जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले राहत प्रदान गर्न थालिसकेको छ । ५३ परिवारलाई १५ लाखका दरले राहत प्रदान गरिएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत १ सय ३४ घाइतेलाई ८१ लाख ६७ हजार रुपैयाँ पठाइएको छ । संघीय मन्त्रालयको संख्या ३० दिनभित्र घटाएर १७ वटा कायम गर्ने घोषणा गरिएको थियो । समयमै पूरा हुन नसके पनि सरकारले कार्य विभाजन नियमावली संशोधन गरी मन्त्रालयहरूको संख्या हेरफेर गरेको छ । मन्त्रालयको संख्या भने १८ कायम गरिएको छ ।
कार्यसूचीको ९१ र ९२ नम्बरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन, प्रमाणीकरण तथा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गर्ने उल्लेख छ । जसअनुसार सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अतिक्रमित संरचना १२ वैशाखमा हटाउन सुरु गरेको थियो ।
जेन–जी अभियन्ता माजिद अन्सारी सुकुमवासी व्यवस्थापनका विषयमा सरकार आफैंले कार्ययोजना उल्लंघन गरेको बताउँछन् । ‘कार्ययोजनामा पहिले सुकुमवासीको लगत संकलन गरी व्यवस्थापनको टुंगो लागेपछि स्थानान्तरण गर्ने भनिएको थियो । सरकारले आफैंले पहिले डोजर चलाएर बस्ती भत्कायो,’ उनले भने, ‘बस्ती भत्काएपछि मात्रै लगत संकलन गरियो । विस्थापितको व्यवस्थापनमा ध्यान दिइएन ।’
सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गराउने विषय पनि सरकारको कार्यसूचीमा थियो । यसअन्तर्गत हालसम्म २६ एप बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्ता मीन अर्यालले दिएको जानकारीअनुसार वर्डलिंक, सुबीसु, भायनेटलगायत विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीमार्फत करिब ३ लाखभन्दा बढी वेबसाइट बन्द भएका छन् ।
सरकारले अनुत्पादक निकाय पुनःसंरचना गर्ने घोषणा गरेको थियो । काम नभएका बोर्ड, समिति तथा संस्थागत संरचना खारेज वा पुनःसंरचना गर्ने भनिएको थियो । सरकारले अनावश्यक निकायको मूल्यांकन गरी केही संरचना खारेज तथा केहीलाई पुनःसंरचना गरेको छ । यो विषय सरकारको बजेट वक्तव्यमा समेत उल्लेख छ । यस अवधिमा विभिन्न संवैधानिक निकाय, सार्वजनिक संस्थान, विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नियामक निकायमा रहेका १ हजार ५ सय ९४ पदाधिकारी (राजनीतिक नियुक्तिसमेत) लाई अध्यादेशमार्फत पदमुक्त गरिएको छ ।
सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्न दलीय ट्रेड युनियन खारेज गर्ने सरकारको प्रतिबद्धता थियो । जसअनुसार दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गरिएको छ । सरकारको भ्रष्टाचार नियन्त्रण अभियानअन्तर्गत बुँदा नं ४३ मा १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्ने उल्लेख थियो । त्यहीअनुसार पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको छ । आयोगलाई दुई चरणमा सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।
सरकारले डिजिटल शासनलाई आफ्नो प्रमुख उपलब्धिमध्ये एकका रूपमा प्रस्तुत गरेको छ । यसअन्तर्गत २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ । हेलो सरकारलाई रियल–टाइम ड्यासबोर्डसहित स्तरोन्नति गरिएको छ । शुक्रबारसम्म पोर्टलमा १ लाख २५ हजारभन्दा बढी उजुरी दर्ता भएकामा ७३ हजार ८ सय ८८ फर्छ्योट भएका छन् । ४७.४१ प्रतिशत उजुरी वेबसाइटमार्फत दर्ता भएका छन् ।
सरकारले राहदानी, नागरिकता तथा सवारी चालक अनुमतिपत्र सेवामा फेसलेस डिजिटल सेवा लागू गर्ने प्रक्रिया पनि सुरु गरेको छ । नागरिकले कार्यालय नपुगी धेरै सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको सरकारको दाबी छ । प्रमाणपत्रहरू आधिकारिक मोबाइल एप तथा नागरिक एप वा इमेलमा डाउनलोड गर्न सक्ने व्यवस्था १५ दिनभित्र मिलाउने कार्यसूची थियो । सेवाग्राहीले आवश्यक प्रमाणपत्र अनलाइनमार्फत डाउनलोड गर्न सक्ने सुविधा पनि ‘इनेबल’ गरिएको छ ।
सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउन विभिन्न सरकारी निकाय तथा वित्तीय संस्थालाई ‘अटोफिल’ को प्रबन्ध गरिएको छ । यसअन्तर्गत यातायात व्यवस्था विभाग, राहदानी विभाग, बैंक तथा बिमा कम्पनीहरूले आवश्यक विवरण स्वतः प्राप्त गरी सेवा प्रवाहलाई सहज बनाउन सक्ने व्यवस्था गरिएको छ ।
राहदानी घरदैलोमै पुर्याउने व्यवस्था सुरु भएको छ भने लामो समयदेखि छापिन नसकेका सवारी चालक अनुमतिपत्र छाप्ने कामले पनि गति लिएको छ । नागरिक एपमार्फत लाइसेन्स छापिए–नछापिएको जानकारी लिन सकिने सुविधा थपिएको छ । कात्तिक २०८२ यता २९ लाख लाइसेन्स छाप्नुपर्नेमा यातायात व्यवस्था विभागले करिब २४ लाख थानको छपाइ सकिएको जनाएको छ । मालपोत र नापीलगायत जग्गासम्बन्धी सेवा पनि अनलाइनबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी बनाउन नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने कार्यमा पनि प्रगति देखिएको छ । यसअन्तर्गत सबै मन्त्रालयबाट प्रमुख १० काम, समयसीमा, जिम्मेवार अधिकारीबाट कार्यसम्पादन सूचकसहितको कार्ययोजना पेस गर्ने गरिएको छ ।
आर्थिक सुधारअन्तर्गत उद्योग तथा लगानीलाई सहज बनाउने विभिन्न कार्यक्रम ढिलो भए पनि सरकारले कार्यान्वयन गरेको छ । उद्योग दर्ताका लागि एकल बिन्दु सेवा केन्द्र प्रभावकारी बनाइएको छ । यसमार्फत उद्योगसम्बन्धी विभिन्न अनुमति तथा सेवा एउटै स्थानबाट उपलब्ध गराउने व्यवस्था गरिएको सरकारको दाबी छ ।
बुँदा नं ५६ अनुसार स्टार्टअप फास्ट ट्र्याक प्रणालीमार्फत दुई दिनभित्र व्यवसाय दर्ता गर्ने व्यवस्था सुरु गरिएको छ । नयाँ व्यवसाय दर्ता दुई कार्यदिनभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको छ । यसले उद्यमशीलता प्रवर्द्धन गर्दै व्यवसाय दर्ता प्रक्रियालाई छिटो र सहज बनाउने अपेक्षा गरिएको छ । कम्पनी दर्ता, पान कार्ड बनाउन आन्तरिक राजस्व कार्यालय जानुपर्ने अवस्था अन्त्य भएको छ ।
‘वन डोर बिजनेस प्लाटफर्म’ सञ्चालनमा ल्याइएको छ । बुँदा नं ६० अनुसार निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको छ । यसअन्तर्गत कम्पनी ऐन २०८३ को मस्यौदा तयार भइसकेको छ, यसमा कम्पनी दर्ता, खारेजीलाई सहज बनाउने प्रस्ताव राखिएको छ । व्यवसायको सुरक्षा र लगानी प्रवर्द्धनका लागि नीतिगत व्यवस्था अघि बढाइएको छ ।
निजी सम्पत्तिमा क्षति पुर्याउने वा लुटपाट गर्नेमाथि कडा कानुनी कारबाहीको व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आवश्यक निर्देशन दिँदै सम्बन्धित घटनामा मुद्दा दर्ता र पक्राउ प्रक्रिया अघि बढाएको छ । हालसम्म ६ हजार ९ सय ७८ जनालाई नियन्त्रणमा लिइएको छ ।
स्वास्थ्य क्षेत्रमा केही पुराना तथा राम्रा कामको निरन्तरता दिइएको छ । कांग्रेस नेता प्रदीप पौडेल स्वास्थ्यमन्त्री भएका बेला सुरु गरिएको बर्न वार्ड विस्तार गरिएको छ । जलन उपचार सेवाका लागि १४ संघीय अस्पतालमा जलन उपचार वार्ड स्थापना गरिएको छ भने ९ प्रादेशिक अस्पतालमा जलन वार्ड सञ्चालनको तयारी भइरहेको छ । हालसम्म १ सय ६४ अस्पतालले कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण पोर्टलमा प्रविष्ट गरेका छन् ।
शासकीय सुधारसम्बन्धी कार्यसूचीमा सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने उल्लेख थियो । हालसम्म १६ वटा संघीय अस्पतालमा सुलभ फार्मेसी सञ्चालन गरिएको छ । बुँदा नं ८६ बमोजिम क्याम्पसमा दलीय हस्तक्षेप अन्त्य गर्ने प्रयास पनि सरकारले अघि बढाएको छ । त्रिभुवन विश्वविद्यालयले देशभरका आंगिक क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ । विद्यार्थी संगठन हटाउने सरकारको निर्णयको विद्यार्थी नेताहरूले प्रतिवाद गर्दै आएका छन् ।
हालसम्म ९ विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको छ । बुँदा ८८ बमोजिम जन्मदर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ । स्नातक तह भर्नामा नागरिकता अनिवार्य नहुने व्यवस्था लागू गर्ने निर्णय पनि गरिएको छ । कार्यान्वयन प्रक्रियाका लागि कार्यविधि तयार गरिरहेको विश्वविद्यालयहरूले जनाएका छन् ।
सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोक्न सरकारले ३० दिनभित्र सवारीसाधनमा सीसीटीभी, ड्यासक्यामेरा, जीपीएस बटन अनिवार्य गर्ने घोषणा गरे पनि पूर्ण रूपमा काम हुन सकेको छैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ३ हजार ३ सय ३ सार्वजनिक सवारीसाधनमा मात्रै सीसीटीभी जडान गरिएको छ । सार्वजनिक सवारीको यकिन तथ्यांक नरहेकाले अझै कति सवारीमा सीसीटीभी जडान हुन बाँकी छ, निश्चित छैन । ‘राइड सेयरिङ एप’ मा भने ‘एसओएस बटन’ सुविधा थप गरिएको छ ।
सरकारले बुँदा नं ५ मा दलित तथा बहिष्कृत समुदायप्रति राज्यका तर्फबाट १५ दिनभित्र औपचारिक क्षमायाचना गर्ने घोषणा गरेको थियो । यो घोषणामा मात्रै सीमित रह्यो । यो प्रतीकात्मक कार्यक्रम मात्र थिएन, यसलाई नेपाल राज्यको ऐतिहासिक अन्यायलाई स्वीकार गर्ने प्रयासका रूपमा हेरिएको थियो । जेन–जी अभियन्ता अन्सारी सरकारका तर्फबाट भन्दा पनि रास्वपा सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागेर उक्त बुँदा कार्यान्वयन गरिएको टिप्पणी गर्छन् ।
कृषि क्षेत्रमा प्रगति पनि कमजोर देखिन्छ । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अझै कृषिमा निर्भर छ । कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषिकार्य गर्दै आएका छन् । यी कृषक परिवारको कुल जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा पुगेको छ । कृषि सुधार, न्यूनतम समर्थन मूल्य, किसानको उधारो भुक्तानी, चिस्यान केन्द्र निर्माण र बजार व्यवस्थापनका कार्यक्रमले अपेक्षित गति लिन सकेको छैन ।
जेन–जी आन्दोलनकै क्रममा २४ भदौमा भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने भनिएको थियो तर समिति गठन हुन सकेको छैन । २३ भदौको घटनामा भने गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन सरकार गठन भएको भोलिपल्टै सुरु गरिएको थियो । प्रतिवेदन कार्यान्वयनका क्रममा १४ चैतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । अहिले पनि उनीहरूमाथि अनुसन्धान जारी छ । सरकारले विभिन्न आयोगका प्रतिवेदनका सिफारिस कार्यान्वयन प्रक्रिया सुरु गर्ने प्रतिबद्धता गरे पनि त्यसमा प्रगति देखिएको छैन ।
जेन–जी आन्दोलनका क्रममा प्रभावित भएका व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज ल्याउने प्रतिबद्धता सरकारले गरेको थियो । तर उक्त योजना पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । कर छुट, सहुलियतपूर्ण ऋण, बिमा दाबी सहजीकरण र पुनर्निर्माण सहयोग जस्ता उपाय प्रस्तावित अवस्थामा रहे पनि व्यावहारिक रूपमा कार्यान्वयन सुस्त छ । तोकिएको समयसीमा नाघिसक्दा पनि यसको स्पष्ट र ठोस कार्यान्वयन देखिएको छैन । प्रमुख सहरमा १२ घण्टा सञ्चालन हुने नागरिक सेवा केन्द्र स्थापना गर्ने योजना कागजमै सीमित बनेको छ ।
डिजिटल सेवा विस्तारलाई सरकारले प्राथमिकता दिए पनि धेरै महत्त्वपूर्ण योजना अझै कार्यान्वयन हुन सकेका छैनन् । नागरिकता नम्बरबाट स्वतः विवरण भर्ने ‘अटो फिल’ प्रणाली लागू गर्ने तथा नागरिक एपबाट प्रहरी प्रतिवेदन, राहदानी र लाइसेन्सका लागि आवेदन दिने सुविधा सञ्चालनमा ल्याउने घोषणा सरकारको थियो । यो घोषणा निर्धारित समयभित्र पूरा हुन सकेन । नागरिकलाई छिटो सहज र बिचौलिया मुक्त सेवा दिन नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवालाई तत्काल एकीकृत गर्ने सरकारको लक्ष्य पनि पूरा भएको छैन । अन्तरजिल्लाबाट उक्त सेवा लिन सक्ने वाचा सरकारले गरे पनि अभ्यासमा आउन नसकेको प्रमुख जिल्ला अधिकारीहरू बताउँछन् ।
बुँदा नं ३७, ३८, ४० र ४१ मा समेटिएका ‘डिजिटल गभर्नेन्स’ नीति, व्यक्तिगत डेटा संरक्षण कानुन, सूचना प्रविधि नियामक निकाय, विद्युतीय शासन विधेयक तथा ‘नेसनल इन्टरप्राइज आर्किटेक्चर फ्रेमवर्क’ तयार गर्ने कार्य पनि अझै सम्पन्न भएको छैन । पर्यटन, सहरी विकास र राजस्व सुधारमा पनि ढिलाइ देखिन्छ । उदयपुर, अछाम, बाजुरा र अपी हिमाललगायत क्षेत्रमा पर्यटन विकासको विशेष खाका तयार गर्ने काम अघि बढ्न सकेको छैन ।
सरकारले नागरिक सेवा केन्द्रमा ‘अपोइन्टमेन्ट बुकिङ’ प्रणाली सञ्चालनमा ल्याउने प्रतिबद्धता गरे पनि निर्धारित ९० दिने समयसीमा बितिसक्दा पनि कार्यान्वयन भएको छैन । अनलाइनमार्फत सेवा लिने समय बुक गर्ने व्यवस्था पनि अझै सञ्चालनमा आएको छैन । यस्तो प्रणाली लागू भएपछि सरकारी सेवा लिन लामो लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्ने भनिएको थियो ।

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)












