फेरि ब्युँतियो दूरसञ्चार सेवा प्रदायक थप्ने बहस
वालेन्द्र शाह नेतृत्वको रास्वपाको नयाँ सरकार गठनसँगै फेरि एक पटक दूरसञ्चार सेवा प्रदायक थप्ने छलफल सुरु भएको छ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा नयाँ अपरेटर आवश्यक देखिएको र यो विषय मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।
‘अहिले हामीसँग दुई वटा अपरेटर छन्, अर्को अपरेटर अथवा धेरै अपरेटर जरुरी छ भन्ने हाम्रो बुझाइ छ,’ उनले केहीअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘तेस्रो मोबाइल सेवा प्रदायक भित्र्याउने विषयमा प्राधिकरणले समिति बनाएर अध्ययन गरेको छ, त्यसको निर्णय सिफारिस हुन बाँकी छ, प्रक्रिया अगाडि बढ्छ ।’
नेपाल टेलिकम र एनसेल गरी हाल दुई वटा मात्र कम्पनी रहेकाले बजारमा प्रतिस्पर्धा खुम्चिएको भन्दै तेस्रो वा थप सेवा प्रदायकको बहस फेरि ब्युँतिएको हो । सरकार फेरिएपिच्छे यो विषयले राम्रै चर्चा पाउने, सम्भावित नयाँ सेवा प्रदायकबारे खोजीनिती हुने, नियामक निकायले अध्ययन अघि बढाउने, प्रतिवेदन बनाउने र उक्त प्रतिवेदन कतै सार्वजनिक नभई यो विषय क्रमशः सेलाउने गरेको छ ।
२०६० को दशकमा मोबाइल सेवाको अनुमतिपत्र प्राप्त युनाइटेड टेलिकम (यूटीएल), एसटीएम टेलिकम, नेपाल स्याटेलाइट (हेलो नेपाल) र स्मार्ट टेलिकमजस्ता सेवा प्रदायक नियामकीय र अनुमतिपत्रका विभिन्न सर्त पूरा गर्न नसकेपछि बन्द भए । दुई वटामात्र सेवा प्रदायक बाँकी भएपछि केही वर्षयता नयाँ सरकार आएपिच्छे नयाँ‘प्लेयर’ भित्र्याउन आवश्यक रहेको भनिँदै आएको छ ।
वालेन्द्र सरकार बनेपछि पनि नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ टेलिकम कम्पनीका लागि लाइसेन्स जारी गर्ने सम्भाव्यता अध्ययन थालेको छ । नेपाल टेलिकम र एनसेलको डुओपोली (द्वयाधिकार) रहेकाले उपभोक्ताले महँगो र गुणस्तरमा सम्झौता भइरहेको भन्दै सरकारले थप सेवा प्रदायकबारे चासो देखाएको हो । सञ्चार मन्त्रालयका प्रवक्ता उदय रानामगरले पनि प्रतिस्पर्धा सुनिश्चित गर्न थप सेवा प्रदायक आवश्यक रहेको कान्तिपुरलाई बताए ।
२०८१ असोजमा पनि दूरसञ्चार प्राधिकरणले नयाँ टेलिकम कम्पनीलाई लाइसेन्स जारी गर्ने विषयको सम्भाव्यता अध्ययन गर्न भन्दै तत्कालीन निर्देशक अम्बर स्थापितको संयोजकत्वमा समिति गठन गरेको थियो । अहिले पुनः अध्ययनका लागि गृहकार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
‘यसअघि ६ वटा कम्पनीलाई लाइसेन्स दिइए पनि हाल दुई वटा मात्रै सञ्चालनमा रहँदा प्रतिस्पर्धा खुम्चिएको छ,’ प्राधिकरणका निर्देशक एवं प्रवक्ता मीनप्रसाद अर्याल भन्छन्, ‘तथापि, नयाँ अपरेटर ल्याउँदा फ्रिक्वेन्सी, राइट अफ वे र नम्बरिङजस्ता सीमित स्रोतहरूको व्यवस्थापन चुनौतीपूर्ण हुनेछ ।’ देशको अर्थतन्त्र र बजारको माग मूल्यांकन गरेर मात्र नयाँ अनुमतिपत्रबारे निर्णय लिइने उनले बताए । ‘तेस्रो अपरेटरका विषयमा अध्ययन भइरहेको छ, प्राधिकरणमा नयाँ नेतृत्व आएपछि अध्ययनका आधारमा थप छलफल गरी सिफारिस गरिनेछ,’ उनले भने, ‘प्राधिकरणले आवश्यक महसुस गरे मात्र थप अपरेटरका लागि सूचना निकालिनेछ । मेरो व्यक्तिगत बुझाइमा स्वस्थ प्रतिस्पर्धाका लागि थप सक्षम सेवा प्रदायक आवश्यक छ ।’ कति सेवा प्रदायक हुनुपर्छ भन्ने विषय बजारको आकार, माग र आपूर्तिसँगै फ्रिक्वेन्सीलगायत स्रोत उपलब्धताले निर्धारण गर्ने उनले बताए ।
को–को छन् आकांक्षी ?
आधारभूत दूरसञ्चार सेवा अनुमतिका लागि सीजी टेलिकम, वर्ल्डलिंक र यूटीएल अग्रपंक्तिमा देखिएका छन् । विशेषतः ग्रामीण भेगमा फाइबरबाट इन्टरनेट विस्तार गर्न सहज नभएकाले मोबाइल सेवाको लाइसेन्स पाए देशभर सस्तो मूल्यमा डेटा सुविधा पुर्याउने उद्देश्य रहेको वर्ल्डलिंक कम्युनिकेसन्सले बताउँदै आएको छ ।
‘नयाँ अपरेटरका लागि सरकारले आवेदन माग गरे त्यसमा शतप्रतिशत सहभागी हुनेछौं,’ वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल भन्छन्, ‘वर्ल्डलिंकजस्ता इन्टरनेट सेवा प्रदायक कम्पनीहरू पूर्वाधार, लगानी र प्राविधिक क्षमताका दृष्टिले टेलिकम सञ्चालनका लागि सक्षम भइसकेका छन्, हामीले वर्षौंदेखि फाइबर र ब्रोडब्यान्ड इन्टरनेट सञ्चालन गरेर वित्तीय सुदृढता र प्राविधिक दक्षता प्रमाणित गरिसकेका छौं ।’
२०६० पछि विशेषगरी पूर्वी नेपालका ग्रामीण क्षेत्रमा भिस्याटमार्फत टेलिफोन सेवा उपलब्ध गराएको चौधरी समूहअन्तर्गतको सीजी कम्युनिकेसन्सले एक दशकअघिदेखि नै एकीकृत दूरसञ्चार सेवा (युनिफाइड) लाइसेन्सका लागि पहल गर्दै आएको छ । अझै पनि नेपालमा तेस्रो दूरसञ्चार सेवा प्रदायक आवश्यक रहेको र सुलभ डेटाको पहुँच विस्तार गरी अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्न सक्ने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । यसअघि आफूहरूलाई दूरसञ्चार क्षेत्रमा प्रवेश गर्नबाट रोकिए पनि सरकारले अहिले खुला र पारदर्शी प्रतिस्पर्धाका आधारमा लाइसेन्स प्रक्रिया अगाडि बढाए सहभागी हुन तयार रहेको सीजीको भनाइ छ ।
‘यस क्षेत्रको सम्भावनालाई लामो समयदेखि अध्ययन गरिरहेका छौं, आवश्यक तयारी पनि गरिरहेका छौं,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘हाम्रो स्पष्ट उद्देश्य नेपालको डिजिटल रूपान्तरणमा योगदान पुर्याउनु, अत्याधुनिक प्रविधि भित्र्याउनु र उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउनु हो ।’ विगतमा ठूलो लगानी गरिसकेका र प्रतिबद्धता देखाइसकेका पुराना लाइसेन्स भएका कम्पनीहरू, जसका लाइसेन्स वा आवेदन वर्षौंसम्म रोकिए वा अनुचित रूपमा रद्द गरिए, उनीहरूलाई निष्पक्ष अवसर प्रदान गरिनुपर्ने सीजीको भनाइ छ ।
२०७३ भदौ २० मा पहिलो पटक आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाएको यूटीएल पनि आफ्नो लाइसेन्स जोगाउन खोजिरहेको छ । कम्पनीका स्थानीय लगानीकर्ताको कम्पनी ‘नेपाल भेन्चर्स’ ले लाइसेन्स नवीकरणका लागि गत जेठमै दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको थियो । दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्रको अवधि २५ वर्ष हुने भए पनि पहिलो १० वर्षमा नवीकरण गर्नैपर्ने व्यवस्था छ । उक्त प्रावधानअनुरूप यूटीएलको पहिलो १० वर्षे लाइसेन्स अवधि २०८३ भदौ १९ मा सकिँदै छ । लाइसेन्स नवीकरणका लागि अवधि सकिनुभन्दा तीन महिनाअघि प्राधिकरणमा आवश्यक दस्तुरसहित निवेदन दिनुपर्ने व्यवस्थाअनुरूप यूटीएलले निवेदन दिएको हो । ‘कम्पनीले जेठ १९ मा नवीकरणका लागि निवेदन बुझाएको छ, त्यसका लागि तोकिएको दस्तुर र पुरानो बक्यौता भने अझैसम्म बुझाएको छैन,’ प्राधिकरणका प्रवक्ता अर्याल भन्छन् ।
कम्पनीले निवेदनमा कोभिड–१९ को असर र वैदेशिक लगानी वृद्धिका विषय उल्लेख गरेर सहुलियत खोजे पनि प्राधिकरणले कानुनीअनुसारको शुल्क तिरेर मात्र नवीकरण हुने जानकारी गराइसकेको उनले बताए । हाल प्राधिकरणका बोर्ड नेतृत्वमा सबै पद रिक्त रहेकाले यूटीएलको निवेदन र नवीकरणको विषय कसरी अघि बढ्छ भन्नेमा अन्योल छ ।
तेस्रो अपरेटरका रूपमा विदेशी कम्पनीभन्दा नेपाली जनता र राष्ट्रिय पुँजीपतिको सहभागिता हुने गरी ‘हाइड्रोपावर मोडल’ मा सर्वसाधारणलाई पनि सेयर बिक्री गर्ने गरी सेवा प्रदायक भित्र्याउन सकिने पूर्वसञ्चारमन्त्री रेखा शर्मा बताउँछिन् । आफू मन्त्री हुँदा यस विषयमा गम्भीर छलफल भएको जानकारी दिँदै उनले तेस्रो अपरेटरका लागि नेपालका थुप्रै ठूला व्यावसायिक घराना र कम्पनी इच्छुक रहेको बताइन् । ‘चारैतिरबाट यस क्षेत्रमा प्रवेश गर्न चाहनेको ठूलो सञ्जाल छ,’ उनले भनिन्, ‘नयाँ अपरेटर ल्याउँदा व्यापार मात्र नहेरी नेपालको भूराजनीतिक सन्तुलन र डेटा सुरक्षालाई विशेष ध्यान दिनुपर्छ, यो क्षेत्र निकै संवेदनशील भएकाले कसैको व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हितमा निर्णय हुनुपर्छ ।’
नीतिगत र व्यावहारिक अन्योल
सरकार र नियामक निकायले बजारमा प्रतिस्पर्धा बढाउन थप अपरेटर आवश्यक रहेको तर्क गरिरहँदा, विज्ञहरूले भने वर्तमान अवस्थामा नयाँ अपरेटर भित्र्याउन सहज नरहेको बताउने गरेका छन् । मूल्य, गुणस्तर र पहुँचमा प्रतिस्पर्धा बढाउने तथा उपभोक्तालाई फाइदा पुर्याउने भएकाले सिद्धान्ततः बजारमा तेस्रो अपरेटर आउनु सकारात्मक भएको र प्रतिस्पर्धा सुनिश्चित गर्नु राज्यको दायित्व भएको दूरसञ्चार विज्ञ आनन्दराज खनाल बताउँछन् । तर, नेपालको वर्तमान कानुनी, नीतिगत र नियामकीय संरचना हेर्दा तेस्रो अपरेटर ल्याउन व्यावहारिक चुनौती देखिने उनको भनाइ छ ।
‘नयाँ अपरेटरलाई दूरसञ्चार ऐनको दफा २२ को पूर्ण प्रतिस्पर्धाबाट ल्याइयो भने पुराना कम्पनी र नयाँ कम्पनीबीचको आर्थिक दायित्व फरक पर्न गई लेभल प्लेइङ फिल्ड वा समान व्यवहारको सिद्धान्त खलबलिन्छ,’ उनले भने, ‘दफा २३ बमोजिम आधारभूत टेलिफोन सेवाअन्तर्गत ल्याइयो भने उक्त कम्पनीले पनि २० अर्ब नवीकरण शुल्क र फ्रिक्वेन्सी अक्सनकै मार खेप्नुपर्ने हुन्छ । त्यसले गर्दा उसले पनि स्मार्ट र यूटीएलकै जस्तो असफलता भोग्नेछ ।’
ऐनको दफा २२ मा प्राधिकरणले दूरसञ्चार सेवाको लाइसेन्स संख्या र किसिम तोकेर सार्वजनिक सूचना निकाल्ने र बोलकबोल (अक्सन) मार्फत लाइसेन्स दिइने व्यवस्था छ । यसमा प्राविधिक र वित्तीय रूपमा उत्कृष्ट ठहरिने र सबैभन्दा बढी रोयल्टी वा लाइसेन्स शुल्क बुझाउन तयार हुनेलाई लाइसेन्स दिइन्छ ।
दफा २३ मा भने पहिले नै आधारभूत टेलिफोन वा अन्य सेवा चलाइरहेका कम्पनीलाई तोकिएको सर्त, पूर्वाधार विस्तारका मापदण्ड पूरा गरेमा आधारभूत दूरसञ्चार सेवा (युनिफाइड) लाइसेन्स दिइने उल्लेख छ । एनसेल (तत्कालीन स्पाइस नेपाल) ले खुला प्रतिस्पर्धाबाट जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पाएको थियो भने स्मार्ट सेलले सुरुमा २०६५ मा प्रतिस्पर्धाबाट ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाए पनि २०७० वैशाखमा तोकिएका मापदण्ड पूरा गरेर युनिफाइड लाइसेन्स अपग्रेड गर्न पाएको थियो । युनिफाइड लाइसेन्स हुनेले मोबाइल, फिक्स्ड लाइन, इन्टरनेट गरी सबै सेवा देशभर सञ्चालन गर्न पाउँछन् । प्राधिकरणले यसबाहेक जीएसएम सेलुलर मोबाइल, आधारभूत टेलिफोन सेवालगायत थरीथरीका लाइसेन्सको व्यवस्था गरेको छ ।
नयाँ आउन चाहने अपरेटरले भ्वाइस कल वा डेटा मात्र नभएर क्लाउड, एआईजस्ता नयाँ प्रविधिमा आधारित बिजनेस मोडल प्रस्तुत गर्न आवश्यक रहेको अर्का दूरसञ्चार विज्ञ एवं एनसेलका पूर्वचिफ रेगुलेटरी अफिसर विशाल उपाध्याय औंल्याउँछन् । ‘नेपालमा तेस्रो अपरेटरभन्दा पनि डेटा सेन्टर, क्लाउड सेवासमेत दिन सक्ने सञ्चार तथा सूचना प्रविधि पूर्वाधार कम्पनीहरू चाहिएको छ,’ उनले भने ।
नेपालको वर्तमान दूरसञ्चार बजारमा नयाँ आउने र सञ्चालनमा रहेका कम्पनीको भविष्य के हुने भन्ने दुवै अन्योल छ । २०८६ पछि एनसेलको लाइसेन्स के हुन्छ भन्ने टुंगो छैन । दूरसञ्चार ऐनको दफा ३३ मा २५ वर्षको लाइसेन्स अवधि सकिएपछि ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका कम्पनीको स्वामित्व सरकारमा आउनुपर्ने व्यवस्था छ । एनसेलमा ८० प्रतिशत स्वामित्व सिंगापुर निवासी नेपाली मूलका उद्यमी सतीशलाल आचार्यको बेलायतस्थित कम्पनी ‘स्पेक्ट्रलाइट यूके’ र २० प्रतिशत स्वामित्व उनकै श्रीमती भावना सिंह श्रेष्ठको ‘सुनिभेरा भेन्चर क्यापिटल’को रहेको छ । एनसेलले सरकारीकरण नभई आफैं कम्पनी सञ्चालन गर्न चाहेको छ । यसका लागि कम्पनीको सेयर संरचना परिवर्तन गरी विदेशी लगानी घटाएर ५० प्रतिशभन्दा तल झार्न खोजेको छ ।
एनसेलले गत पुसमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई लेखेको पत्रमा भनिएको थियो, ‘...एनसेल आजियाटा लिमिटेडमा हाल कायम रहेको नेपाली नागरिक संघ–संस्थाको पुँजी लगानीलाई ५० प्रतिशतभन्दा बढी कायम गरी अधिकांश स्वामित्व नेपालीको भएको कम्पनी बनाउने...।’ उपयुक्त निकासका लागि विकल्प प्रस्तुत गर्दै एनसेलले थप लेखेको थियो, ‘कम्पनी ऐन, २०६३ को दफा १२ बमोजिम एनसेल आजियाटा लिमिटेड पब्लिक लिमिटेड कम्पनी भएको हुँदा कम्पनी आफ्नो सेयर सर्वसाधारणमा बिक्री गरी नेपाली जनतालाई धितोपत्र ऐनबमोजिम सेयर प्रदान गर्न सकारात्मक रहेको छ ।’ एनसेलले अघि सारेको यस विकल्पमा सरकारले हालसम्म कुनै जवाफ वा प्रतिक्रिया दिएको छैन ।
सरकारी स्वामित्वको सेवा प्रदायक, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा भने सरकारले आफ्नो सेयर स्वामित्व घटाएर ६६ प्रतिशतमा झार्ने घोषणा बजेटमार्फत गरेको छ । हाल सरकारको ९१.४९ प्रतिशत सेयर रहेकामा करिब २६ प्रतिशत सेयर जनस्तरमा बिक्री गरी प्राप्त हुने रकमलाई ‘टेक हब’ बनाउन उपयोग गर्ने लक्ष्य राखेको छ ।
टेलिकमका उपप्रबन्धक राजेन्द्र दुलालले यसबारे बजेट भाषणमा सुनेको भए पनि कम्पनीमा अहिलेसम्म कुनै आधिकारिक परिपत्र वा निर्देशन नआएको प्रविधि पत्रकार मञ्चले हालै आयोजना गरेको कार्यक्रममा बताएका थिए । टेलिकमको समस्या चाहिँ कम्पनी विगत पाँच आर्थिक वर्षदेखि सञ्चालन घाटामा रहेको विज्ञहरू औंल्याउँछन् । दूरसञ्चार बजार स्याचुरेसन (उच्चतम विन्दु) मा पुगिसकेकाले नयाँ व्यावसायिक मोडलबेगर नयाँलाई टिक्न गाह्रो हुने उनको चिन्ता छ ।
सञ्चालनमा रहेका यी दुई ठूला सेवा प्रदायक आफ्नै आन्तरिक, राजनीतिक, व्यावसायिक र नीतिगत अन्योलबीच चलिरहेका बेला सरकारले तीन वर्षअघि नै आफ्नो नियन्त्रणमा लिएको स्मार्ट टेलिकमको हालत झनै लथालिंग छ । तेस्रो ठूलो अपरेटर मानिएको स्मार्टले अनुमतिपत्र नवीकरण शुल्क र अन्य बक्यौता गरी करिब ३० अर्ब रुपैयाँ सरकारलाई नबुझाएपछि यो स्वतः निलम्बनमा परेको थियो ।
अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ बमोजिम प्राधिकरणले स्मार्टलाई नियन्त्रणमा लिएको थियो । स्मार्ट बन्दको तीन वर्षपछि गत असोजमा यसका टावर र अन्य पूर्वाधार बैंकहरूले लिलाम प्रक्रियाबाट ४ अर्ब ६० करोड रुपैयाँमा एनसेललाई बेचे । सरकारमातहत आएको सम्पत्ति बैंकले बेचेको भन्दै विवाद भइरहेको छ । यो विषय अहिले नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरोले हेरिरहेको छ ।
सरकारलाई वार्षिक रूपमा सबैभन्दा धेरै कर तिर्ने र ठूलो विदेशी लगानीसमेत भित्र्याउन सक्ने नेपालको दूरसञ्चार क्षेत्र पहिलेको तुलनामा हाल आर्थिक रूपमा खुम्चिँदै गएको एकथरीको विश्लेषण छ भने ३०औं वर्षदेखि संशोधन नभएका नीतिगत व्यवस्था, अधिक करलगायतलाई पनि विद्यमान सेवा प्रदायकले चुनौतीका रूपमा व्याख्या गर्दै आएका छन् । एनसेलले हालै सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष शुल्क, फ्रिक्वेन्सी शुल्क, दूरसञ्चार सेवा शुल्क, स्वामित्व कर, मूल्य अभिवृद्धि कर, टीडीएस, भन्सार महसुल गरी चालु आर्थिक वर्षको ९ महिनामा १४ अर्ब ५१ करोड रुपैयाँ कर तिरेको थियो । देशको कुल गार्हस्थ उत्पादनमा टेलिकम क्षेत्रको योगदान ५ प्रतिशतबाट घटेर १.२ प्रतिशतमा झरेको छ ।
‘अहिलेको अवस्थामा तेस्रो अपरेटरको कुरा गर्नु बेकार छ,’ विज्ञ खनाल भन्छन्, ‘सरकार र प्राधिकरणको वर्तमान कार्यशैली, गति र मति यही रहने हो भने तेस्रो अपरेटर आउने कुरा कल्पना पनि नगर्नुस् । अहिले बजारमा रहेका दुई वटा कम्पनी नै कतिन्जेल टिक्छन् भन्ने ग्यारेन्टी छैन । जसरी स्मार्ट टेलिकम कोल्याप्स भयो, सही नीतिगत हस्तक्षेप भएन भने आगामी तीन वर्षभित्र एनसेल र त्यसपछि नेपाल टेलिकम पनि संकटमा पर्न सक्छन् ।’ दूरसञ्चार क्षेत्रले ‘लुट्छ’ भन्ने दृष्टिकोण बदल्न सके र फ्रिक्वेन्सीको अक्सन एवं नवीकरण शुल्क व्यावहारिक बनाउन सके मात्रै नयाँ लगानीकर्तालाई बाटो सहज हुने उनको तर्क छ ।
पूर्वसञ्चारमन्त्री शर्मा भने उपभोक्ताको हितका लागि बजारमा तेस्रो प्रतिस्पर्धी चाहिन्छ भन्नेमा सहमत छिन् । ‘हालको अर्बौं रुपैयाँको स्थिर नवीकरण शुल्कभन्दा कम्पनीले गर्ने नाफाको निश्चित प्रतिशत राज्यलाई तिर्ने कानुनी व्यवस्था उपयुक्त हुन्छ,’ उनी भन्छिन्, ‘धेरै कमाउनेले धेरै र कम कमाउनेले कम तिर्ने व्यवस्था भए मात्र व्यवसाय सस्टेनेबल हुन्छ ।’ उल्लेखित व्यवस्था समावेश गर्ने गरी २०५३ को पुरानो दूरसञ्चार ऐन परिवर्तन गर्न आफूले निकै प्रयास गरे पनि सफल नभएको तीतो अनुभव उनले सुनाइन् । ‘दूरसञ्चारमा विभिन्न बिचौलिया र व्यापारी समूहहरूको स्वार्थका कारण ऐन संशोधन प्रक्रिया अघि बढाउन निकै कठिन भयो,’ उनले सुनाइन्, ‘नयाँ कानुनको ड्राफ्ट तयार गर्दा एनसेललाई पोस्न खोजियो भन्ने भ्रम फैलाइयो, यो एउटा असाध्यै तीतो अनुभव मैले बटुलेकी थिएँ ।’
लाइसेन्स र फ्रिक्वेन्सी वितरणको राजनीति
दूरसञ्चार क्षेत्रमा नयाँ लाइसेन्स जारी गर्ने र फ्रिक्वेन्सी वितरणको विषय जहिले पनि राजनीतिक चलखेलको केन्द्रमा रहने गरेको छ । फ्रिक्वेन्सीको मूल्य र कुन सेवालाई कति फ्रिक्वेन्सी बाँडफाँट गर्ने भन्ने मुख्य निर्णय सञ्चारमन्त्रीको अध्यक्षतामा रहेको ‘रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति’ ले गर्छ । उक्त समितिले निर्धारण गरेको नीतिका आधारमा सेवा प्रदायकलाई फ्रिक्वेन्सी तोक्ने, वितरण गर्ने र त्यसको अनुगमन गर्ने काम प्राधिकरणले गर्छ । फ्रिक्वेन्सी वितरण मुख्यतया लिलाम बढाबढ (अक्सन) को माध्यमबाट गरिन्छ । अक्सनबाटै लाइसेन्स पनि वितरण गर्ने व्यवस्था छ ।
लाइसेन्स र फ्रिक्वेन्सी दुवैमा अक्सन गर्दा बजारमा ठूला कम्पनीको सिन्डिकेट हुने र नयाँ वा साना लगानीकर्ताले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको कतिपयको गुनासो छ । स्मार्ट टेलिकम र यूटीएलजस्ता कम्पनी टिक्न नसक्नुमा कारण पनि महँगो दस्तुर र अक्सन नीति पनि एउटा कारण भएको दूरसञ्चार विज्ञ उपाध्यायको विश्लेषण छ । ‘दूरसञ्चार क्षेत्रमा ९९.९ प्रतिशत समय नै सेवा सुचारु राख्न निकै ठूलो लगानी आवश्यक पर्छ, जुन कुरा यसअघिका साना कम्पनीका लागि चुनौतीपूर्ण भयो,’ उनले भने, ‘लाइसेन्स र फ्रिक्वेन्सी दस्तुर महँगो हुनु अर्को कारण हो ।’
प्राधिकरणले पछिल्लो पटक २०६५ मा निश्चित ग्रामीण र दुर्गम क्षेत्रमा सेवा दिने गरी नयाँ अपरेटरका लागि आवेदन माग गरेको थियो । दूरसञ्चार सेवा सञ्चालन गर्न चाहनेले आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य सञ्चालन योजनासहित अन्य योग्यता पेस गर्नुपर्ने भनिएको थियो । त्यसरी प्राप्त भएका निवेदनमध्ये प्राधिकरणले त्यो बेला स्मार्ट टेलिकमलाई अनुमतिपत्र प्रदान गरेको थियो । २०६९ मा राजपत्रमा प्रकाशित युनिफाइड लाइसेन्सको नीतिपछि प्राधिकरणले स्मार्ट र यूटीएललाई तोकिएको दस्तुर बुझाएर मोबाइल सेवामा अपग्रेड हुने बाटो खोलिदिएको थियो ।
हेलो नेपाल र स्मार्टजस्ता सेवा प्रदायक क्रमशः बन्द भए । स्मार्टसँग ९०० मेगाहर्ज ब्यान्डमा ५ मेगाहर्ज र १८०० मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी थियो । फ्रिक्वेन्सी वा स्पेक्ट्रम भनेको मूल्यवान प्राकृतिक स्रोत भएकाले यसको वितरण, मूल्य निर्धारण र नवीकरणका लागि ठूलो शुल्क तोकिएको हुन्छ ।
२०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री र कृष्णबहादुर महरा सञ्चारमन्त्री रहेका बेला माओवादी निकट मानिने व्यापारी अजेयराज सुमार्गीको ‘नेपाल स्याटेलाइट टेलिकम’ लाई ‘हेलो नेपाल’ सञ्चालन गर्ने लाइसेन्स दिइएको थियो । त्यो बेला कम्पनीले मागेको भन्दा पनि धेरै फ्रिक्वेन्सी निकै सस्तो मूल्यमा उपलब्ध गराइएको भन्दै तत्कालीन सरकारको आलोचना भएको थियो । हेलोले सस्तोमा फ्रिक्वेन्सी किनेर त्यसलाई केही समय ‘होल्ड’ गरेर राखेको र पछि स्विडेनको दूरसञ्चार सेवा प्रदायक ‘टेलियासोनेरा’लाई महँगोमा बेचेको विषयमा अझै पनि थुप्रै लेख भेटिन्छन् ।
तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा र चौधरी समूहबीच सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिने विषयमा २०७६ मा सार्वजनिक रूपमै विवाद भएको थियो । तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले हाल पुराना कुरा धेरै स्मरण नरहेको र दूरसञ्चार प्राविधिक विषय भएकाले अहिले आफू खासै अपडेट नरहेको प्रतिक्रिया दिए । सीजीले भने त्यो बेला व्यावहारिकभन्दा बढी प्रक्रियागत अवरोध भएको जनाएको छ ।
‘तेस्रो’ सेवा प्रदायकका असफलता
विगतका तेस्रो प्रदायक भनिएका स्मार्ट टेलिकम र यूटीएलजस्ता कम्पनीहरू व्यावसायिक रूपमा असफल भए । स्मार्ट टेलिकमले झन्डै ३० अर्ब रुपैयाँ बक्यौता तिर्न नसकेपछि सरकारले यसको अनुमतिपत्र खारेज गरिदियो । यूटीएलले लाइसेन्स पाएको एक दशकसम्म पनि देशव्यापी रूपमा सेवा विस्तार गर्न सकेको छैन । मध्यपश्चिम र सुदूरपश्चिमका २५ वटाजति जिल्लामा सेवा पुर्याएको हेलो नेपाल २०७९ मा बन्द भयो, यसले पनि सरकारलाई साढे ३ अर्ब रुपैयाँजति बक्यौता बुझाउन बाँकी थियो । सीजी टेलिकमले लाइसेन्सका लागि निकै लबिइङ गरे पनि पूर्वसर्त पूरा नगरेको भन्दै सरकारले रोकिदिएको थियो । यी कम्पनीहरू चल्न नसक्नुमा कमजोर व्यवस्थापन, अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, फ्रिक्वेन्सी होल्ड गर्ने रणनीति मुख्य कारण रहेको जानकारहरू बताउँछन् । कतिसम्म भने स्मार्ट टेलिकम बन्द भएपछि यसले सिर्जना गरेको दायित्वको भार अहिले सर्वसाधारणको थाप्लोमा आइपरेको छ । देशभरका ६ सयभन्दा बढी सर्वसाधारण र मुख्य कार्यालयका घरधनीले वर्षौंदेखि भाडालगायतको विवाद छ ।
नेपालको निजी क्षेत्रका टेलिकम कम्पनीमा थुप्रै स्वदेशी र विदेशी लगानीका व्यावसायिक समूहको प्रवेश र बहिर्गमन भएका छन् । एनसेलकै सेयर स्वामित्व हालसम्म १४ पटक किनबेच भइसकेको छ । यसमा नेपालको स्थापित व्यावसायिक घराना खेतान समूह र भारतको मोदी टेलेस्ट्रादेखि युरोपको टेलियासोनेरा, मलेसियाको आजियाटा र स्थानीय साझेदारले लगानी गरेका छन् । यूटीएलमा भारत सरकारको स्वामित्व रहेका तीन ठूला कम्पनीहरू महानगर टेलिफोन निगम लिमिटेड, टेलीकम्युनिकेसन्स कन्सल्टेन्ट्स इन्डिया लिमिटेड र टाटाको भीएसएनएलसँगै नेपाल भेन्चर्सले लगानी गरेका थिए ।
२०५७ मा प्राधिकरणले पहिलो पटक खुला प्रतिस्पर्धाबाट लाइसेन्स वितरणका लागि बोलपत्र आह्वान गरेको र त्यसमा खेतान समूह तथा मोदी समूहको संयुक्त कन्सोर्टियमले जितेको थियो । लाइसेन्स जितेपछि उनीहरूले स्पाइस नेपाल प्रालि स्थापना गरी दूरसञ्चार सेवा सुरु गर्नै लाग्दा नेपालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएका थिए । राजाको प्रत्यक्ष शासन रहेका बेला उनका ज्वाइँ राजबहादुर सिंहले मोदी र खेतान समूहलाई पन्छाएर यस कम्पनीमा भित्रिएको अग्रज पत्रकार सम्झन्छन् ।
२०६१ मंसिर ३ मा राज ग्रुप नेपालले मोदीको ५५ प्रतिशत र खेतानको ४० प्रतिशत सेयर खरिद गरी स्पाइस नेपाल (पछि मेरो मोबाइल हुँदै एनसेल बनेको) मा ९५ प्रतिशत स्वामित्व कायम गरेको थियो । राज ग्रुपले सेयर खरिद गरेकै दिन ५७ प्रतिशत सेयर साइप्रसस्थित अफसोर कम्पनी ‘डाल्ट्रो ट्रेड’ लाई बिक्री गरेको थियो । २०६२ मा डाल्ट्रोले ४० प्रतिशत र राज ग्रुपले ३८ प्रतिशतमध्ये १८.६ प्रतिशत सेयर रेनोल्ड होल्डिङ्सलाई बेचेको देखिन्छ । २०६३ मा राज ग्रुपले बाँकी रहेको १९.४ प्रतिशत सेयर सिनर्जी नेपाललाई बेचेको थियो ।
राजतन्त्र ढलेर गणतन्त्र आएपछि पनि दूरसञ्चार क्षेत्रमा यस्ता चलखेल रोकिएनन् । माओवादी भर्खरै शान्ति प्रक्रियामा आएर अन्तरिम सरकारमा सहभागी भएका बेला सुमार्गीले २०६४ मा माओवादी सरकारकै संरक्षणमा हेलो नेपाल चलाएको आरोप लाग्ने गरेको छ । पछि स्विडेनको दूरसञ्चार कम्पनी, टेलियासोनेराले एयरवेल सर्भिस लिमिटेड नामक कम्पनीमार्फत हेलो नेपालमा २ सय मिलियन डलर लगानी गर्दै ७५ प्रतिशत सेयर अप्रत्यक्ष रूपमा किनेको थियो भने टेलियाले नै एनसेल पनि चलायो ।
स्विडेनका खोज पत्रकार टम बर्गिसले टेलियासोनेरा, हेलो नेपाल र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको प्रसंग आफ्नो चर्चित पुस्तक ‘कुकुल्यान्ड : ह्वेयर द रिच ओन्स द ट्रुथ’ मा उल्लेख गरेका छन् । सन् २०२४ मा प्रकाशित यस पुस्तकले नेपालको दूरसञ्चार क्षेत्र, राजनीति र वैदेशिक लगानीको भित्री पाटोलाई उजागर गरेको छ । टेलियासोनेराका लागि मोहम्मद अमेर्सी नाम गरेका व्यक्तिको सहयोगमा सुमार्गीले टेलियासोनेरालाई नेपाल सरकार र माओवादी नेताहरूसँग परिचय गराइदिएका थिए । टेलियासोनेरा नेपाल प्रवेश गर्न सफल भयो र सुमार्गीको कम्पनी हेलो नेपालमा २ सय डलरभन्दा बढी लगानी गरेको पुस्तकमा उल्लेख छ ।
विगतको असफलता र अहिलेको कठिन व्यावसायिक वातावरणलाई देखाएर नेपालको दूरसञ्चार क्षेत्रमा तेस्रो सेवा प्रदायक टिक्न सक्दैनन् भन्ने भाष्य बनाइएको यस क्षेत्रलाई नियालिरहेका एक पूर्वसरकारी कर्मचारी बताउँछन् । तर, विगतमा आएका धेरैजसो टेलिकम कम्पनीले वास्तविक प्रतिस्पर्धा गर्नुभन्दा पनि सीमित स्रोतका फ्रिक्वेन्सी ओगट्ने रणनीति मात्र लिएको उनको बुझाइ छ ।

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)









