दृष्टिकोण
स्वतन्त्र दलित सामाजिक आन्दोलनको आवश्यकता
- मेघेन्द्र विश्वकर्मा
दक्षिण एसियाली समाजको मूल चरित्र बोकेको हिन्दुधर्मीय अवैज्ञानिक वर्ण व्यवस्थामा आधारित विभेदकारी, क्रूर र अमानवीय जात प्रथाले शताब्दियौंदेखि निरन्तर अनियन्त्रित शक्तिको अभ्यास गर्दै आइरहेको छ । वनमाराझैं फैलिएको विषरूपी जात प्रथाले करोडौं मानिसको जीवन अपमानित र घृणित मात्रै नभई तहसनहस बनाइदिएको छ । यस सामाजिक कुप्रथाले मानव सृष्टिको प्रक्रिया, प्राकृतिक न्यायको सिद्धान्त, वैयक्तिक आत्मसम्मान र विश्वव्यापी मानवअधिकारमाथि गम्भीर चुनौती थोपरिदिएको मात्रै छैन कि मानवीय अस्तित्वमाथि पूर्णतः धावा बोल्दै आएको छ । अवैज्ञानिक छुवाछूत प्रथाको धार्मिक–सांस्कृतिक क्षेत्रमा गरिएको अभ्यासले ठूलो संख्यामा रहेका मानव जातिलाई अपवित्र र दूषित बनाउने कार्य त गरेको छँदै छ, त्यससँगै दक्षिण एसियाली समाजलाई मनोवैज्ञानिक रूपमा पूर्णतः विखण्डन र गहिरो विभाजनतर्फ धकेलिदिएको छ । आर्य सभ्यताको जगमा विकसित हिन्दु धर्मले जातीय छुवाछूत प्रथाको अलावा लैंगिक विभेद, धार्मिक अतिवाद–भाग्यवादप्रतिको भ्रमपूर्ण विश्वास र असमान–शोषणमूलक आर्थिक–राजनीतिक सम्बन्धलाई दह्रोसँग संस्थागत गरेको देखिन्छ । परिणामतः यस भूगोलका करोडौं मानव समुदाय अछूत भएकै कारण कहालीलाग्दो आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक विभेदको सामना गर्न अभिशप्त छन् ।
स्वघोषित उच्च जात (छूत्/शुद्ध) हुनुको कारण समाजको निश्चित समूह वा वर्गले सत्ता, शक्ति, उत्पादनमूलक स्रोत साधन वा सम्पत्तिमाथि एकछत्र कब्जा जमाएको छ । यही समूहले राज्यसत्ता, शक्ति र सम्पत्तिको आडमा आम मानिसको स्वतन्त्र अस्तित्व र प्राकृतिक न्यायको अधिकारलाई कुण्ठित गर्ने र आफ्नो मुठीभित्र राख्दै आएको छ । अन्ततः हिन्दुधर्मीय वर्ण व्यवस्थामा आधारित जात प्रबन्धले दक्षिण एसियामा मूलतः निरन्तर दुई पृथक् मानवको उत्पादन गर्दै आइरहेको देखिन्छ । पहिलो, समाजमा अस्तित्व, प्रभाव र पहुँच रहेका उच्च, छूत्, शुद्ध, कुलीन, शासक, सामन्त र कथित उत्कृष्ट मानवको उत्पादन । दोस्रो, समाजमा अस्तित्वविहीन, निष्प्रभावी र पहुँचविहीन रहेका दास, शूद्र, परिगणित, अछूत, हरिजन वा दलितरूपी निकृष्ट, नीच र भुइँ मानवको उत्पादन । यसबाट स्पष्ट हुन्छ कि दक्षिण एसियाको हिन्दुधर्मीय समाज मूलभूत रूपमा जात व्यवस्थामा आधारित दुई अलग मानव जातिको उत्पादन गर्ने कारखाना हो । हिन्दुधर्मीय वर्ण व्यवस्थालाई शताब्दियौंदेखि निरन्तर अघि बढाइरहेको सामाजिक, सांस्कृतिक र धार्मिक संरचनामा मात्रै नभई उत्पादनका आधारभूत संरचना र शासन व्यवस्थामा आमूल बदलाव नल्याउँदासम्म जात प्रथारूपी कारखानाले युगौंयुगसम्म उच्च र नीच दुई भिन्न मानव जाति निरन्तर कोरलिरहने निश्चित छ ।
दक्षिण एसियाली समाजको जात प्रथाको विरासतलाई अथर्व वेदकालीन युगदेखि नै काँध थाप्दै आएको हिन्दु बहुल नेपाली समाज वर्गप्रधान नभई जातप्रधान मानिन्छ । वर्ण व्यवस्थामा आधारित जात प्रथा नै नेपाली समाजको मूल चरित्र हो । भारतीय उपमहाद्वीपमा भारतपछि हिन्दु धर्मावलम्बीको ठूलो जनसंख्या रहेको नेपाली समाजले वर्ण व्यवस्थामा आधारित जात प्रथालाई राज्यसत्ता–शक्तिको कठोर निर्देशन र प्रत्यक्ष संलग्नतामा हुर्काउने, कडाइपूर्वक कार्यान्वयन गर्ने र पुस्तैनी हस्तान्तरण गर्ने शताब्दियौं लामो प्रक्रियामा अद्भुत योगदान पुर्याइरहेको छ । वेदकालीनदेखि सामन्ती युग हुँदै पुँजीवादी युगसम्म आइपुग्दा हामीकहाँ जात व्यवस्थाको प्रभाव, दबाब र अभ्यासमा रत्तिभर कमी देखिएको छैन । आधुनिक नेपालको निर्माण हुनुअघि र पछिको कालखण्ड वा राजतन्त्रकालीन वा राष्ट्रपतीय शासन पद्धतियुक्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नै किन नहोस्, हिन्दु समाजले अनुसरण गर्दै आइरहेको अवैज्ञानिक र विभेदकारी जात व्यवस्थाको तागतमा रत्तिभर कमी नआउनुले आफैंमा आधुनिक राज्य व्यवस्थालाई नै गिज्याएको प्रतीत हुन्छ ।
नेपालका दलित समुदाय हिन्दुधर्मीय उच्च जातिवादी शासक र जातिगत सामाजिक–सांस्कृतिक संरचनाका कारण असह्य बहुआयामिक विभेद, शोषण र उत्पीडन झेल्न बाध्य छन् । उनीहरू विकासका सबै आयाममा समाजको पिँधमा रहेको विभिन्न सरकारी/गैरसकारी तथ्यांकहरूले पुष्टि गरेका छन् । युगौंदेखि चौतर्फी आर्थिक शोषण, सामाजिक बहिष्करण र जातीय विभेदमा पारिएका दलित समुदायले अवैज्ञानिक छुवाछूत प्रथाको उन्मूलन, सामाजिक सशक्तीकरण र राजनीतिक मूलप्रवाहीकरणको माग राखेर विभिन्न कालखण्डमा फरक–फरक स्वरूपका थुप्रै सामाजिक संघर्ष सञ्चालन गर्दै आए । यद्यपि प्रारम्भमा सशक्त र प्रभावकारी देखिएको दलित संघर्ष पञ्चायतकालदेखि नै कमजोर हुन थाल्यो । पचासको दशकमा उठ्ने प्रयास गरेको दलित संघर्ष सत्तरीको दशकमा आइपुग्दासम्म पूर्णतः खतरामा पुग्यो । संविधान निर्माणको बखत जनजाति, मधेशी र क्षेत्रीय आन्दोलनहरूको तुलनामा दलित आन्दोलनको प्रभाव बिलकुल कमजोर हुँदै गयो भन्ने विषय राजनीतिक–सामाजिक वृत्तमा गम्भीरतापूर्वक उठ्यो । यत्तिसम्म कि नाम मात्रैको दलित आन्दोलन सञ्चालन गर्नु र नगर्नुमा तात्त्विक भिन्नता नरहेको भन्नेसम्मको कडा आलोचना र टीकाटिप्पणीसमेत भए । निश्चय नै प्राज्ञिक, सामाजिक र राजनीतिक क्षेत्रमा हुने यस किसिमका कठोर आलोचनाले दलित सामाजिक आन्दोलनको अस्तित्वमाथि गम्भीर प्रश्न उठाइदिएको छ ।
खासगरी छुवाछूत प्रथाको अन्त्य, दलित समावेशीकरण र क्षतिपूर्तिसहितको दलित अग्राधिकारको विषयलाई प्रमुख एजेन्डा बनाएको दलित सामाजिक आन्दोलनको शक्तिमा समयक्रमसँगै किन ह्रास आउँदै गयो ? यस आन्दोलनका मूलभूत चुनौती के–के हुन्, जसले दलित सामाजिक आन्दोलनलाई सशक्त, प्रभावकारी र एकीकृत रूपमा अघि बढ्नबाट रोक्यो ? त्यससँगै, दलित आन्दोलनको आगामी दिशा र गन्तव्य बिन्दु कहाँ हो ? दलित सामाजिक संघर्ष कमजोर हुनुका पछि कुन–कुन पक्ष, कारक र शक्तिको भूमिका रह्यो ? साँघुरो घेराभित्र निर्माण गरिएको दलित आन्दोलनको वैचारिक अवधारणामा कहाँ कस्तो कमजोरी देखिन्छ ? नेपालको दलित सामाजिक आन्दोलनको चरित्र र प्रवृत्तिमाथि उठेका कैयौं प्रश्नमा टेकेर आन्दोलनको गम्भीर समीक्षा गरिनुपर्ने आवश्यकता देखिएको छ । यस आलेखमा नेपालको दलित सामाजिक आन्दोलनका मूलभूत कमजोरी, चुनौती र आन्दोलनको आगामी कार्यभारका सम्बन्धमा संक्षेपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
कमजोरी
पचहत्तर वर्षभन्दा लामो संगठित आन्दोलनको इतिहास बोकेको दलित सामाजिक संघर्ष सुरुका वर्षहरूमा सशक्त र बलशाली देखिएको थियो । पञ्चायती व्यवस्थामा दलित नेताहरूमा सत्ताप्राप्तिको लालसा पैदा भएसँगै मौलाएको अवसरवादी प्रवृत्तिले दलित आन्दोलन अवसानको नजिक पुग्यो । लामो समयसम्म निष्क्रिय रहेको दलित आन्दोलनले प्रजातन्त्रको स्थापनासँगै क्रमिक रूपमा आफ्नै तागतमा उठ्ने तरखर गर्दा नगर्दै सशस्त्र माओवादी विद्रोहको ओत लियो । समयक्रमसँगै विभिन्न राजनीतिक दलहरूको वैचारिक घेराभित्र आन्दोलन कैद हुनुले दलित मुक्तिको सपना टाक्सिन पुगेको छ । आद्यपर्यन्त एकीकृत आन्दोलनको आवश्यकता बोध हुँदाहुँदै पनि सत्ता स्वार्थ र राजनीतिक लाभका निम्ति दलहरूको फेरो समाउने नेताहरू दलहरूकै प्रयत्नबाट दलित समुदायको बृहत्तर मुक्ति हुने भुलभुलैयामा परिरहेका छन् । सिंगो दलित समुदायलाई दलैपिच्छेका राजनीतिक विचारधारामा विभाजन नगरी सशक्त र बलशाली दलित सामाजिक आन्दोलन सञ्चालन गर्न छाडेर दल र नेताको निगाहाको भरमा दलित समुदायले चौतर्फी विभेद र असमानताबाट मुक्ति पाउने काल्पनिकतामा दलित नेतृत्व रमाउनु विचित्र छ ।
दलित सामाजिक आन्दोलनले प्रारम्भदेखि नै छुवाछूत अन्त्य र दलित समावेशीकरणको एजेन्डालाई प्रधान विषय बनाउँदै आए पनि दलित समुदायमा रहेको भयावह गरिबी, आर्थिक असमानता र भूमिहीनताको प्रश्नलाई पछिल्लो समय दह्रोसँग उठाउन सकेन । दलित समुदायको गैरभौगोलिक संघीय राज्य, दलित बहुल क्षेत्रलाई विशेष क्षेत्र निर्धारण गर्ने, जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वका साथै क्षतिपूर्ति बापतको थप सुविधा र निर्वाचनमा दलित–दलितबीचमा प्रतिस्पर्धा गर्ने कानुनी व्यवस्थाको प्रबन्ध लगायतका एजेन्डाहरू दलित नेतृत्वको असक्षमता, कमजोर दलित संगठन र स्पष्ट वैचारिक दृष्टिकोणको अभावका कारण खतरामा परेका हुन् । आखिर दलित समुदायका नेताहरू विभिन्न पार्टीमा विभाजित भएसँगै उनीहरूले बोक्ने राजनीतिक विचारधारात्मक दृष्टिकोण, सांगठनिक दायित्व र पार्टीगत रणनीति/कार्यनीति अलग–अलग हुनुले दलित मुक्ति आन्दोलनको विषय छायामा पर्नु अस्वाभाविक होइन ।
दलित नेताहरूका बीचमा दलित आन्दोलनप्रतिको साझा दायित्वबोध प्रकट हुनुको सट्टा दलगत प्रतिस्पर्धी भावना, व्यक्तित्वको टकराव र दलित गैरसरकारी संस्थाहरूको सुधारवादी कार्यमा रमाउने प्रवृत्तिले दलित आन्दोलनमा क्षति पुग्यो । राजनीतिक दलको नियन्त्रणमा बाँधिएका दलित भ्रातृ संघ/संगठनले स्वतन्त्र हैसियतमा दलित आन्दोलनलाई अघि बढाउने अपेक्षा राख्नु कसैगरी सही होइन । दलित आन्दोलनले दलित समुदायका बीचमा सामाजिक–सांस्कृतिक अन्तर्घुलनका कार्यक्रम लैजाने, बौद्धिक दलित व्यक्तित्वलाई आन्दोलनको मूलधारमा भूमिका प्रदान गर्ने र प्रगतिशील गैरदलित व्यक्ति, समूह वा संगठनसँग हातेमालो गर्ने कार्यमा दलित आन्दोलनको ध्यान पुगेको पाइँदैन । संक्षेपमा भन्दा आन्दोलनलाई निर्णायक, गतिशील र सशक्त बनाउन साझा संगठन, साझा वैचारिक दृष्टिकोण र सामूहिक नेतृत्वको विकास गर्नबाट दलित आन्दोलन प्रस्ट चुकेको छ । दलित सामाजिक आन्दोलनले बहुआयामिक विभेदबाट प्रताडित रहेका दलित समुदायको बृहत्तर मुक्तिका निम्ति स्पष्ट वैचारिक दृष्टिकोणको विकास, बलियो संगठनको निर्माण र इमानदार नेतृत्वपंक्ति तयार गर्न नसक्नु नै मूल कमजोरी हो ।
चुनौती
नेपालको दलित सामाजिक आन्दोलनका अघिल्तिर मुक्तिको सम्भावनासँगै चुनौतीको चाङ रहेको छ । दलसम्बद्ध दलित भ्रातृ संघ/संगठनहरूले राजनीतिक दलहरूसँग दशकौंदेखि जातीय विभेद र बहुआयामिक मुक्तिको याचना गर्नु गल्ती मात्रै अवश्य थिएन । केही व्यक्तिले क्षणिक भोग गर्ने सत्ताशक्ति र पद प्रतिष्ठाका निम्ति एकीकृत र शक्तिशाली दलित आन्दोलनको पूरै सम्भावनालाई दलहरूकै पाउमा लगेर बिसाइदिनुचाहिँ दलित आन्दोलनप्रति उनीहरूले दिएको सबैभन्दा ठूलो धोका थियो । यस अर्थमा, बृहत् बलशाली र निर्णायक दलित आन्दोलनका निम्ति दलित समुदायलाई सत्ताको भर्याङका रूपमा प्रयोग गर्दै आइरहेका दलित राजनीतिक संघ/संगठनको प्रवृत्ति सबैभन्दा ठूलो चुनौती बनेको छ ।
दलित नागरिक समाजको नाममा मुठीभर व्यक्तिद्वारा अपारदर्शी रूपमा परिचालन गरिएको अर्बौंको वैदेशिक अनुदान कार्यक्रमले गरिबी र जातीय विभेदको मारमा रहेका दलित जनहरूको जीवनमा तात्त्विक फरक पारेको पाइँदैन । त्यसबाट सीमित व्यक्तिलाई लाभ दिनेबाहेक खास परिणाम दिएको देखिँदैन । त्यसो हुँदा, दलित आन्दोलनको बागडोर समाउने आकांक्षा राख्ने, गैससलाई राजनीतिक र आर्थिक उपार्जनको भर्याङ बनाउने र ससाना कार्यक्रमबाटै दलित मुक्तिको सपना बाँड्नेजस्तो तेहोरो चरित्र बोक्ने दलित गैरसरकारी संस्थाले दलित सामाजिक आन्दोलनलाई दुर्घटनाको नजिक पुर्याएका छन् । त्यस्तै, दलित समुदायका बौद्धिक, इमानदार र सक्षम व्यक्तिहरूलाई राजनीतिक दलमा आबद्ध रहेका स्वघोषित दलित नेता र दलित गैससकर्मीले खेद्ने प्रवृत्ति त्यत्ति नै डरलाग्दो छ । बुझक्कड भनिएकै दलितहरूको संकुचित सोचाइ, दलका नेताप्रति देखाउने दास मानसिकता र वैयक्तिक लाभका निम्ति आन्दोलनलाई नै बेवारिस अवस्थामा छोडिदिने अवसरवादी प्रवृत्ति नै वर्तमान दलित सामाजिक आन्दोलनको मूल चुनौतीका रूपमा देखिन्छन् ।
अबको बाटो
नेपालको दलित सामाजिक आन्दोलनले आम दलित समुदायलाई अवैज्ञानिक छुवाछूत प्रथा र बहुआयामिक विभेदबाट मुक्ति दिलाउने सन्दर्भमा केही कार्यभार पूरा गर्नुपर्ने देखिन्छ । पहिलो, संविधानको पूर्ण कार्यान्वयनका निम्ति आन्दोलनमार्फत दबाब सिर्जना गर्नु अहिलेको प्रमुख दायित्व हो । त्यसका निम्ति दीर्घकालीन रूपमा राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्यका साथ स्वतन्त्र दलित संगठनको निर्माण गरेर आन्दोलन सञ्चालन गर्नुपर्छ । तत्काल त्यस्तो अवस्था सम्भव नहुँदा संयुक्त मोर्चा निर्माण गरी संविधानको अक्षरशः कार्यान्वयन गर्न राज्य राजनीतिक दललाई बाध्य बनाइनु नै अहिलेको मूल जिम्मेवारी हो । दोस्रो, अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा भएका दलित र अन्य सामाजिक आन्दोलनको गहिरो समीक्षा गरी दलित सामाजिक आन्दोलनको स्पष्ट वैचारिक दृष्टिकोण निर्माण गरिनुपर्छ । सामन्तवादको अभिन्न अंग मानिने जात प्रथागत सामाजिक संरचना भूमण्डलीकृत पुँजीवादमा पनि शक्तिशाली स्वरूपमा रहेकोले विषयलाई गम्भीरतापूर्वक विश्लेषण गरिनुपर्छ ।
तेस्रो, मार्क्सवादी र प्रजातान्त्रिक दुवै राजनीतिक शक्तिहरूले दलित समुदायको छुवाछूतको अन्त्य र मुक्तिको एजेन्डाप्रति मुखले रामराम बगलीमा छुराको व्यवहार गरिआएका छन् । त्यसकारण, दलित मुक्तिको वैचारिक अवधारणा निर्माण गर्दा दलहरूको विकल्पमा दलित आन्दोलन स्वयंलाई सबल राष्ट्रिय शक्तिका रूपमा विकास गरी स्पष्ट सैद्धान्तिक, वैचारिक र संगठनात्मक कार्यदिशा निर्माण गर्नुपर्छ । चौथो, नेपाली कांग्रेसले बोकेको प्रजातान्त्रिक समाजवादको मार्गबाट दलित मुक्ति पूर्णतः असम्भव देखिएको र मार्क्सवादी विचारधारालाई कम्युनिस्ट भनिएका राजनीतिक शक्तिहरूले विकृत बनाएको देखिन्छ । यस अवस्थामा, उनीहरूले बोक्ने राजनीतिक विचारधारा र उनीहरूकै नेतृत्वमा दलित मुक्तिको परिकल्पना गर्नु काल्पनिकतामा रमाउनु मात्रै हुन्छ । तसर्थ, स्वयं दलितले निर्माण गर्ने सांगठनिक शक्तिमार्फत समानता, सामाजिक न्याय र समतामूलक समाजवादको लक्ष्यसहितको वैचारिकी विकास गर्नुपर्ने हुन्छ ।
पाँचौं, सबल र स्वतन्त्र दलित संगठनको निर्माण, छुवाछूत प्रथाको समूल अन्त्य, आर्थिक समानता र अग्राधिकार सहितको समानुपातिक समावेशिताको विषयलाई वैचारिक कार्ययोजनाको केन्द्रमा राख्नुपर्छ । राजनीतिक दल त्याग गरेर स्वतन्त्र र सबल दलित संगठन निर्माण गर्न लामो समय लाग्ने हुँदा बीचको अवधिमा संयुक्त मोर्चामार्फत दलहरूको दबाबबिना स्वतन्त्र दलित आन्दोलनलाई सशक्त रूपमा निरन्तर अघि बढाइनु श्रेयष्कर हुनेछ । छैटौं, दलित अन्तर्घुलनको प्रक्रियालाई अभियानकै रूपमा अघि बढाउने र गरिबी एवं भूमिहीनताको विषयलाई आन्दोलनको केन्द्रमा राख्नुपर्छ । दलित आन्दोलनले आवश्यकता र औचित्यताका आधारमा अन्य सीमान्तकृत समुदाय र शक्तिसँग सहकार्य गर्ने नीति लिइनुपर्छ ।
अन्त्यमा, माथि उल्लिखित विभिन्न कारणले संकटग्रस्त अवस्थामा पुगेको दलित सामाजिक आन्दोलनलाई कसैगरी पुनःस्थापित गर्न आवश्यक छ । बलशाली र हस्तक्षेपकारी स्वतन्त्र दलित आन्दोलनबाटै जातीय विभेदले आक्रान्त र बहुआयामिक शोषणमा परेका आमदलित समुदायको मुक्ति पूर्णतः सम्भव छ ।
दृष्टिकोण
छुटिरहेको यौनिकता बहस
- डा. रेणु अधिकारी
मानिसको जीवनसँग जोडिएको एक महत्त्वपूर्ण आयाम उसको यौनिकता हो । यौनिकता एक छाता अवधारणा भएको हुँदा यसको कुनै निर्दिष्ट परिभाषा छैन । विश्व स्वास्थ्य सङ्गठनको सामान्य परिभाषालाई आधार मान्ने हो भने यौनिकता व्यक्तिको विचार, कल्पना, आशा, विश्वास, मूल्य मान्यता, व्यवहार, भूमिका, सम्बन्धलाई अनुभव गराउने तथा प्रकट गराउने कार्य हो । यौनिकतालाई व्यक्तिको जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, नैतिक, कानुनी, ऐतिहासिक, धार्मिक तथा आत्मीय तथ्यहरूको अन्तरक्रियात्मक अनुभवले प्रभाव पार्छ । समग्रमा यौनिकताले व्यक्तिको व्यवहार, विश्लेषण, आफूलाई हेर्ने दृष्टिकोणजस्ता विभिन्न आयामलाई समेट्छ । उसको व्यक्तित्वमा प्रभाव पार्छ । आफूले भित्रबाट अनुभव गर्ने स्वतन्त्रताको अनुभूतिलाई प्रभावित बनाउँछ ।
विशेष गरेर यौनिकताको कुरा गर्दा यसलाई यौन सम्बन्धसँग मात्रै जोडेर हेर्ने चलन पनि छ । वास्तविकतामा हेर्ने हो भने यौनिकतालाई मानव जीवनको बहुआयामिक समुद्र मान्न सकिन्छ भने यौन सम्बन्ध त्योभित्र हुने घटना हो वा ज्वारभाटा हो । व्यक्तिको सक्रिय यौन साथी हुँदैमा, उसको नियमित यौन सम्पर्क हुँदैमा, त्यो पूर्ण सन्तुष्टि दिने, यौनिकतालाई पूर्ण बनाउने, चरम आनन्द दिने हुन्छ भन्न सकिन्न । धेरै महिला, पुरुष तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिसँगको अन्तरक्रियाले यसलाई पुष्टि गर्छ । धेरैको भनाइ छ– ‘मेरो यौन साथी (हाम्रोजस्तो समाजमा विशेषतः श्रीमान् र श्रीमती) छ, तर म सन्तुष्ट छैन ।’ सही यौन सम्बन्ध दुवैको पूर्ण सहमति, समान मानसिक, भावनात्मक र शारीरिक सहभागिता भए मात्रै हुन सक्छ । यस्तो यौन सम्बन्ध भए मात्रै व्यक्ति आफ्नो यौनिकतामा रमाउन सक्छ । यौनिक रूपले सन्तुष्ट हुन सक्छ । स्वतन्त्र अनुभुत गर्न सक्छ र खुसी हुन सक्छ । भनिन्छ नि प्रेमबिनाको यौन सम्बन्ध जस्तो पीडादायक केही छैन र प्रेमसहितको यौन सम्बन्ध जस्तो आनन्ददायक अरू केही हुनै सक्दैन । आधारभूत आत्मीयताको सिद्धान्तअनुसार मानव यौनिकता भनेको त्यस्तो अभिव्यक्ति हो, जसले व्यक्ति–व्यक्तिबीच सम्बन्ध तयार गर्दै एकअर्काको भावना सञ्चार गर्छ । आत्मीय सम्बन्धमा सबै कुरा मुखले भन्नुपर्ने वा अभिव्यक्त गर्नुपर्ने हुँदैन । एकअर्काको आँखा, मुड, शारीरिक हाउभाउ (भाषा) जस्ता कुराले पनि धेरै बोल्छन् । त्यसलाई बुझ्न सक्ने सम्बन्ध नै आत्मीय सम्बन्ध हो । यस्तो सम्बन्धमा मात्रै यौन सन्तुष्टि हुन सक्छ । प्रेम झाँगिन्छ । व्यक्तिको यौनिकता मौलाउँछ ।
दुर्भाग्य, हाम्रो जस्तो पितृसत्तात्मक समाजमा यौनिकता खासगरी महिला र पारलिङ्गीहरूको शरीरलाई वस्तुकरण गर्दै पुरुषको नियन्त्रणमा राख्ने औजारका रूपमा विकास गरिएको छ । महिला र पारलिङ्गीले कस्तो लगाउने, कस्तो साथी छान्ने, कोसँग प्रेम गर्ने, कोसँग शारीरिक सम्बन्ध राख्ने वा नराख्ने सबै कुरा पितृसत्ताले स्थापित गरेको महिलापन र पुरुषपनको मापदण्डलाई आधार बनाई तय गरिएको हुन्छ । सामाजिक मूल्य मान्यताअनुरूप त्यसलाई संस्थागत गरिन्छ ।
एउटी महिलाले भर्खरै मसँग साझा गरेको कुरा यहाँ राख्नु सान्दर्भिक होला । उनी कुनै एउटा तालिममा गएकी रहिछन् । समूहमा फोटो खिच्ने क्रममा एक जना पुरुषसँग अलि नजिकिएको जस्तो आएछ । यही फोटो देखेर श्रीमान्ले दिनरात ‘तेरो उसैसँग सम्बन्ध छ’ भन्न थालेछन् । श्रीमान्ले अचानक यस्तो शंका गरेपछि उनको मन यसै दुख्ने भइहाल्यो । त्यसपछि हुने यौन सम्बन्धमा करिब करिब उनी निष्क्रिय हुन पुगिन् । श्रीमान्सँगका यौन सम्बन्ध आनन्दभन्दा बढी पीडाका रूपमा रूपान्तरित हुन थाल्यो । अहिले त राति भयो कि डर लाग्छ रे !
यस्ता घटना हामीकहाँ कैयौं छन् । धेरै विवाहित दम्पती सँगै बस्छन् तर प्रेम छैन । यौन सम्बन्ध हुन्छ तर आत्मीयता छैन । यसको प्रत्यक्ष असर उनीहरूको व्यवहार र व्यक्तित्वमा परेको छ । यौन कुण्ठित व्यक्तिको विकास सहज हुँदैन । यौन कुण्ठाले विभिन्न हिंसा निम्त्याउँछ । मैले केही पारलिङ्गी महिला र पुरुषसँग भेटेर कुरा गर्दा पारिवारिक दबाबका कारण उनीहरूको अर्को लिङ्गको व्यक्तिसँग विवाह हुन्छ । तर, उनीहरूको यौनिकताले त्यो स्विकार्दैन, परिणामस्वरूप दुई व्यक्तिभित्र द्वन्द्व सुरु हुन्छ । पारिवारिक हिंसा सुरु हुन्छ । भर्खरै केही युवायुवतीसँग भेट्ने मौका मिलेको थियो । उनीहरूमध्ये धेरैको गुनासो थियो– ‘आफूले विवाह गरेको व्यक्तिसँग कुरा मिल्दैन, मानिस भएका कारण मानसिक भावनात्मक सहयोग आवश्यक हुन्छ । त्यसैले हाम्रो बाहिर सम्बन्ध हुन्छ भने कसैले अचम्म मान्नु पर्दैन ।’
मानिसको व्यवहार र स्वास्थ्य राम्रो हुन समाजमा अरू व्यक्तिसँग कस्तो सम्बन्ध छ ? उसका
आफ्ना अन्तरङ्ग सम्बन्ध कस्ता छन् ? बाल्यकाल, किशोरावस्था र युवावस्थामा नजिकका व्यक्तिसँग सम्बन्ध कस्तो थियो भन्नेले महत्त्वपूर्ण भूमिका खेल्छ । ऊ आफूसँग रमाउन सक्छ कि सक्दैन, उसका सपना देख्ने, खुसी हुने, आफू पनि महत्त्वपूर्ण व्यक्ति हो भनी अनुभुत गर्न पाउने वातावरण छ कि छैन भन्ने स्थितिले मानसिक स्वास्थ्य निर्धारित हुन्छ र यहीअनुरूप व्यक्तित्व बन्छ । यस्तो अवस्था मानिसले त्यतिखेर मात्रै पाउँछ, जतिखेर उसले
आफ्नो यौनिकतालाई बुझ्ने, रमाउने अनि खुसी हुने वातावरण पाउँछ ।
महिलाको मुक्ति आफ्नो यौनिकतालाई बुझ्ने, चाहना, भावना अभिव्यक्त गर्न पाउने वातावरणसँग जोडिएको हुन्छ । त्यसैले महिलावादी आन्दोलनको सुरुवातदेखि नै महिलावादीहरू यौनिकताको राजनीतिलाई विश्लेषण गर्दै र समाज बुझ्दै अगाडि बढिरहेका छन् । हाम्रो समाजमा अझै पनि महिलालाई शोषण गर्ने अस्त्रका रूपमा यौनिकतालाई हेरिने गरिन्छ । अतः अहिलेको यो दृष्टिकोणसहितको संरचनामा परिवर्तन हुन सक्दा महिला मुक्तिको आधार बन्न सक्छ भन्ने महिलावादी आन्दोलनले मान्छ । त्यसैले कुनै पनि व्यक्तिले जबसम्म आफ्नो यौनिकतालाई पूर्ण रूपले स्वतन्त्रतासाथ अनुभव गर्न पाउँदैन, तबसम्म ऊ मुक्त भएको मान्न सकिँदैन ।
प्रेम र यौन अन्तरसम्बन्धित छन् तर यी दुवै एक होइनन् । सबै खाले प्रेममा यौन सम्बन्ध हुनुपर्छ भन्ने छैन तर प्रेम नभएको यौन सम्बन्ध आत्मीय हुन सक्दैन । यसलाई पुष्टि गर्न वर्षौं पहिले कोलकाताको सोनागाछीकी एक यौनकर्मीले मसँग भनेको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । उनले भनेकी थिइन्– ‘दिदी म मेरो कम्मरमाथिको अङ्गहरूद्वारा प्रेम गर्छु तर कम्मरभन्दा तल्लो भागलाई प्रयोग गरेर
आफ्नो जीवन चलाउँछु । मैले जीवन चलाउन गरेको कामसँग मेरो कुनै भावनात्मक सम्बन्ध हुँदैन ।’
हिजोआज जो महिला मकहाँ आउँछन्, उनीहरू पनि कतै यस्तै स्थितिमा त छैनन्् भन्ने लाग्छ । धेरैले भन्छन्– ‘म श्रीमान्सँगै छु, मेरो यौन सम्पर्क पनि हुन्छ तर हामीबीच प्रेम छैन । मैले मेरो जीवनमा खुसी र सन्तुष्टिको अनुभव गर्न छाडेको धेरै भइसक्यो ।’ म महिलाका सवाल सम्बन्धित काम गर्छु, त्यसैले मैले धेरै महिलाको कुरा सुनेकी छु । मलाई विश्वास छ, यस्तै अवस्था पुरुषहरूको पनि छ । योभन्दा जटिल अवस्थाबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महिलाहरू गुज्रिरहेको हुनुपर्छ भन्ने अनुमान म सहजै लगाउन सक्छु ।
हामीकहाँ यौन विकृति, शोषण, बाल यौन दुर्व्यवहार, भागेर गर्ने बालविवाह जस्ता यौनसँग जोडिएका घटना बढिरहेका छन् । यसका विभिन्न कारणमध्ये एक महत्त्वपूर्ण हो– व्यक्तिभित्र रहेको यौन चाहना अनि चाहना व्यक्त गर्न नसकेर हुने कुण्ठा । हरेक व्यक्तिभित्र यौन चाहना हुन्छ । ऊ त्यो अभिव्यक्त गर्न चाहन्छ । तर हाम्रो जस्तो समाजमा जहाँ यौनको कुरा गर्नु, चाहनाबारे खुलेर छलफल गर्नुलाई अश्लील मानिन्छ, त्यहाँ व्यक्तिले आफ्नो यौन चाहना पूरा गर्न विभिन्न बाटो रोज्छ । तीमध्ये धेरै अपराधतिर लाग्छन्, अरूलाई पीडा दिने तर आफैंलाई घात गर्ने बाटो रोज्छन् । अर्को महत्त्वपूर्ण कुरा, यी सबै बाटाभित्र उसको यौन चाहना त पूरा होला तर पूर्ण सन्तुष्टि दिने प्रेम उसले पाउन सक्दैन । ऊ आफ्नो यौनिकतामा खुसी हुन सक्दैन । परिणामतः उसको व्यक्तित्व नै प्रभावित हुन पुग्छ । ऊ अपराधी, मानसिक रोगी वा असफल व्यक्ति बन्न पुग्छ ।
त्यसैले महिलावादीहरू भन्छन्– ‘यदि महिलाले आफ्नो यौनिकतालाई बुझ्ने, रमाउने, रोमाञ्चित हुने अनि आफ्नो जीवनबारे आफैं निर्णय लिन सक्ने अधिकार प्राप्त गर्ने अवस्था आयो भने मात्रै महिला मुक्ति सम्भव छ ।’ हामीले अहिलेसम्म व्यक्तिको उत्पादनमाथिको अधिकारको कुरा गर्यौं । सम्पत्तिमाथिको कुरा उठायौं तर उक्त उत्पादन गर्न सक्षम बनाउने, सम्पत्तिलाई उपभोग गरी रमाउन आवश्यक पर्ने व्यक्तिको शरीर, यौनिकता अनि मनोभावनाका बारेमा कुरा गरेनौं । हामीले हिंसा र पीडाका बारेमा धेरै बोल्यौं तर खुसी र आनन्दकाबारे बोल्न डरायौं । समाजले के भन्छ भनेर हच्कियौं । सायद त्यसैले महिला हिंसा कम भएको छैन । दम्पतीबीच प्रेम छैन, पारपाचुके बढेको छ । विश्वासको सम्बन्ध छैन, त्यसैले घरभित्र र बाहिर सबैतिर यौन हिंसा बढेको छ । यो स्थितिमा न व्यक्ति नै खुसी हुन्छ न त देश । मानिसको जीवनको जग प्रेममा अडिएको हुन्छ । प्रेम र यौन सम्बन्ध दुई फरक कुरा हुन् । सबै प्रेम यौन सम्बन्धमा टुङ्गिँदैन । तर कुनै पनि यौन सम्बन्धमा प्रेम छैन भने त्यो यौन सम्बन्ध पीडादायक हुन्छ । जबसम्म व्यक्तिले आफ्नो यौनिकतालाई बुझ्ने, खुसी हुने, रमाउने, आफैं निर्णय गर्ने वातावरण पाउँदैन तबसम्म न उसले साँचो प्रेम गर्न सक्छ न त यौन सम्बन्धमा सन्तुष्टि पाउँछ । ऊ कहिले आफूलाई स्वतन्त्र अनुभुत गर्न सक्दैन । यो जीवनको शाश्वत सत्य हो । त्यसैले अब हामी सबैले यौन, यौनिकता र प्रेमका सम्बन्धमा खुलेर चर्चा गर्दै महिला मुक्ति अनि स्वतन्त्रताको आधार तयार गर्नुपर्ने बेला आएको छ ।