३६ वर्षपछि थबाङमा प्रतिस्पर्धा
थबाङ (रोल्पा)– देशभर स्थानीय निर्वाचन बहिष्कारमा उत्रिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ‘आधार इलाका’ थबाङलाई पनि निर्वाचनविरुद्ध होम्न ठूलै प्रयास गर्यो । तर, स्थानीयले गाउँको नेता आफैं चुन्न सक्ने गरी दुई दशकपछि आएको अवसर खेर फाल्न चाहेनन् । निर्वाचनमै जाने अडान कसी त्यसका लागि नेकपाको स्थानीय संगठनलाई दबाब दिए । अन्तत: पार्टीकै स्थानीय नेताहरू स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । बहिष्कारका लागि मनाउन लामो प्रयास गरेका थबाङी नेता सन्तोष बुढामगर निराश भएर रुकुमतिर लागे ।
नेकपानिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य अमित घर्ती मगर गाउँपालिका अध्यक्षमा लड्दै छन् । उनी दिनरात गाउँवासीका साथ चुनाव प्रचारमा खटिइरहेका छन् । निर्वाचन बहिष्कार गर्दा गलत व्यक्ति शक्तिमा आउने सम्भावना भएकाले पार्टी नीतिविपरीत स्वतन्त्र रूपमा उम्मेदवारी दिएको घर्तीले बताए ।
‘हामीले छोडिदिँदा भ्रष्ट नेताहरू शक्तिमा आउँछन् । तिनलाई परास्त गर्न चुनावमा होमिएका हौं,’ उनले भने, ‘युद्धकालदेखि नै यहाँका जनताको सुखदु:खमा सँगै रह्यौं । अहिले अधिकांश जनताले चुनावमा जानैपर्ने मनसाय राखेकाले प्रतिस्पर्धा गर्न तयार भयौं ।’ आफू अहिले पार्टीको कुनै पनि सम्पर्कमा नरहेको र कारबाही गरे भोग्न तयार रहेको घर्तीले बताए ।
साढे तीन दशकयता स्थानीय स्तरका हरेक निर्णयमा एकजुट रहँदै आएका थबाङवासी यसपालि पनि चुनावका लागि एक भएका छन् । २०३८ सालदेखिको ‘कम्युनिस्ट गढ’ को परिचय खुकुलो बनाउँदै थबाङले दलीय रूपमा पनि विविधता अँगालिसकेको छ । ३६ वर्षपछि पहिलोपटक कांग्रेस र एमालेले यहाँ पार्टी कार्यालय स्थापना गरेका छन् । पहिलोपटक थबाङमा ठूलो चारतारे झन्डा फहराएको छ । एमाले पनि संगठन विस्तार गरी चुनावी स्पर्धामा होमिएको छ । माओवादी फुटपछि पहिले मोहन वैद्य र पछि चन्दले ‘कब्जा’ गरेको गाउँ अब उनीहरूको मात्र नियन्त्रणमा रहेन । माओवादी केन्द्र पनि यहाँ चन्दको प्रभुत्व बढ्न नदिन शक्ति परिचालन गरिरहेको छ । नेकपा त्यसलाई प्रतिकार गर्ने योजनामा छ ।
‘माओवादीले थबाङलाई प्रतिष्ठाको विषय बनाएको छ । केन्द्रीय नेताहरू भरतपुरभन्दा बढी महत्त्व दिएर लागिरहेका छन्,’ घर्तीले भने, ‘कसरी पुरानो पकड भत्काउने र नयाँ कायम गर्ने भन्ने लडाइँ चलेको छ । उनीहरू भत्काउन चाहन्छन्, हामी बचाउन ।’ विद्रोही छवि बनाएको थबाङले अहिले पनि नेताहरूको दबाब अस्वीकार गरी चुनावमा गएर विद्रोह नै गरिरहेको उनको भनाइ छ । यसअघि गाउँ परिषद् बोर्डमा माओवादीबाहेक कुनै पार्टीको सहभागिता थिएन । राष्ट्रिय जनमोर्चालाई मित्रशक्तिका रूपमा केही सहभागिता जनाउन दिइरहेका थिए । अरू पार्टी त परै, पहिले आधार इलाका बनाएको माओवादी केन्द्रलाई समेत त्यहाँ पस्न समस्या थियो । अब स्थानीय तह अधिकारसम्पन्न भएकाले गाउँ विकास र बजेटको नेतृत्व आफ्ना हातमा पार्न माओवादी केन्द्र र नेकपाका स्थानीय कार्यकर्ता लागिपरेका छन् । चुनावमा जित्नेले पाँच वर्षसम्म थबाङको नेतृत्व गर्दै स्रोतसाधनमा पहुँच राख्ने भएकाले सबै चुनावी दौडमा छन् ।
द्विविधामा नेकपा
चुनाव बहिष्कारमै जोड गरिरहेको नेकपाले निकट नेताहरू स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा होमिए पनि कारबाही गरेको छैन । स्थानीय नेतृत्व झन् कडा बहिष्कारमा उत्रने कि आफू निकटकालाई जिताउन लागिपर्ने भन्ने द्विविधामा देखिन्छ । अरू आउनुभन्दा आफू निकटकाले जिते पार्टीको अस्तित्व जोगिने उसको भित्री चाहना रहेको बुझिन्छ । नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले मनोनयन दर्ताको भोलिपल्टै प्रेस विज्ञप्ति जारी गरी उम्मेदवारी दिनेहरू आफ्ना कार्यकर्ता नरहेको दाबी गरेका थिए । थबाङ गाउँ इन्चार्ज हितप्रसाद रोकाले पनि चुनाव लड्नेलाई कारबाही हुने बताएका छन् तर स्थानीय कार्यकर्ता एकीकृत जनक्रान्तिका टिसर्ट लगाएर चुनाव प्रचारमा हिँडिरहेका छन् ।
नेकपाका जिल्ला सदस्य तथा थबाङ गाउँ इन्चार्ज रोकाले उम्मेदवारी नदिन निकै अनुरोध गर्दा पनि नेताहरूले नमानेको बताए । अब थबाङी जनता पहिलेजस्तै कुनै एक दल वा विचारको नियन्त्रणमा नरहेको उनले स्विकारे । ‘पहिले थबाङ छुट्टै राज्यजस्तो थियो, यो डाँडापारि के हुन्छ, थाहा हुँदैनथ्यो । अहिले सडक सञ्जाल, सूचना प्रविधि र आर्थिक स्तर वृद्धिले मानिसको सोच बदलियो,’ उनले भने, ‘अहिलेको परिवेशमा हामी सबैलाई आफ्नो नियन्त्रणमा राख्न सक्दैनौं ।’ आधारभूत आवश्यकता पूर्ति भइरहेकाले स्थानीय बासिन्दा अब किन आन्दोलन गरिराख्ने भन्ने निष्कर्षमा पुगेको रोकाको बुझाइ छ । ‘जीवन सुखी भएपछि मानिसले क्रान्ति गर्न गाह्रो मान्दोरैछ,’ उनले भने, ‘त्यसैले पार्टी त्यागेर चुनाव लड्न तयार भए ।’
यसरी भत्कियो एकता
स्थानीय शिक्षक दयाप्रसाद रोकाका अनुसार २०२९ सालसम्म थबाङमा कांग्रेसको बाहुल्य थियो । कम्युनिस्ट कम थिए । विद्यालयमा कांग्रेसका छोराछोरी पढ्थे । थबाङमा प्यूठानबाट शिक्षक भएर गएकाहरू सबै कम्युनिस्ट थिए । उनीहरूले विद्यार्थीलाई कम्युनिस्ट शिक्षा दिन थाले । अन्त्यमा सबै नयाँ पुस्ता कम्युनिस्ट विचारधारामा लागे । बुढापाका मात्रै कांग्रेस रहे । २०३८ सालमा कम्युनिस्टसँग द्वन्द्व भएपछि कांग्रेसी विस्थापित भए । थबाङी एकताको मुख्य आधार भनेकै राजनीतिक विचार रहेको शिक्षक रोकाले बताए । ‘आजसम्म कम्युनिस्टकै नाममा गाउँ एकजुट थियो । अन्य कुनै विचारका मान्छे जन्मेनन्,’ उनले भने, ‘युद्ध लड्दा गाउँ एकजुट भयो, चुनाव बहिस्कार गर्दा एकजुट भयो, भोट हाल्दा पनि सबैले एउटैमा हाले । अहिले पहिलोपटक धेरै पार्टीलाई भोट हाल्ने अवस्था बनेको छ ।’ समयक्रम र अन्य परिवर्तनले थबाङमा एकल राजनीतिक विचार भत्किने परिस्थिति बनेको माओवादी केन्द्रबाट वडा नं. १ अध्यक्ष उम्मेदवार गिरीश पुनले बताए । ‘सबै पार्टी पसेपछि यहाँको परम्परागत शैली बदलियो, एकल राजनीतिक गाउँबाट बहुदलीय प्रतिस्पर्धामा प्रवेश गर्यो,’ उनले भने, ‘माओवादी पार्टी फुटेपछि गाउँको एकता भत्कन थालेको हो । पहिले एउटा अगुवाको आदेशमा चल्ने गाउँ अब अनेक थरी नेताको केन्द्र बन्यो ।’ माओवादी केन्द्रका जिल्ला सदस्य विनप्रसाद पुन भने चुनावमा विभाजन भए पनि खासखास मुद्दामा थबाङ अझै एकजुट रहन सक्ने बताउँछन् ।
संकटमा नेकपाको आधार
गाउँमा चुनाव बहिष्कारको नीति लागू गरेरै छाड्ने योजनासहित लामो समय खटेका सन्तोष बुढा त्यो सम्भव नहुने देखेपछि थबाङबाट फर्केका छन् । थबाङमै फागुन ५ देखि १० सम्म आठौं महाधिवेशन सम्पन्न गरी एकीकृत जनक्रान्तिको एजेन्डा पारित गरेको नेकपाको आधार चार महिनामै भत्किएको छ । पार्टी नीति र जनताको चाहना नमिलेपछि नेकपाका स्थानीय नेता संकटमा परेका छन् । ‘हामी भोट हाल्न जाने कि नजाने भन्ने अन्योलमा छौं । एकातिर पार्टीले बहिष्कार गर्न दबाब दिइरहेको छ, अर्कातिर जनताले भोट हाल्ने चाहना गरेका छन्,’ थबाङ १ जुर्बाङका अगुवा नेता गिसन रोकामगरले भने, ‘चुनावकै कारण गाउँमा फाटो हुन्छ कि भन्ने चिन्ता छ ।’
निर्वाचन सहज
निर्वाचन अधिकृत भएर थबाङ पुगेका कमलबहादुर विष्ट अहिले ढुक्क छन् । निर्वाचनै बिथोलिन सक्ने हल्ला चलिरहेका ठाउँमा बहिष्कार गर्ने पार्टीका नेता नै उम्मेदवार भएपछि उनलाई काम गर्न सजिलो भएको छ । ‘केही समस्या छैन । जनता उत्साहित छन्,’ उनले भने, ‘सुनेजस्तो डरलाग्दो स्थिति भएन ।’
‘गाउँ पस्नै कठिन थियो’
थबाङले अधिकांश निर्वाचन बहिष्कार गर्दै आएको थियो । सहभागी भइहाले पनि बहुदलीय प्रतिस्पर्धा हुँदैनथ्यो । स्थानीयले पञ्चायतकालमा एकलौटी रूपमा कम्युनिस्ट तथा बहुदलीय व्यवस्थापछि संयुक्त जनमोर्चा र माओवादीलाई मतदान गरेका थिए ।
पुष्पकमल दाहाल र सन्तोष बुढामगरलाई जिताउन पहिलो संविधानसभा निर्वाचनमा सबैले एकमुष्ट माओवादीलाई भोट हाले । २०७० को दोस्रो संविधानसभा निर्वाचन सबैले बहिष्कार गरे । तर, अब थबाङीले पहिलोपटक विभिन्न पार्टीलाई मतदान गर्दै छन् । बहुदलीय प्रतिस्पर्धा गर्न पाएकामा अन्य पार्टीका नेता खुसी छन् । पहिलोपटक प्रवेश गरेका कांग्रेस र एमालेका नेताकार्यकर्तालाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए । ठूलो संघर्षपछि मात्रै अन्य पार्टीले प्रवेश पाएको एक वर्षदेखि थबाङमै बसेर एमाले संगठन विस्तारमा लागेका हितबहादुर रोकाले बताए । दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट सभासद लडेका उनी अहिले थबाङमै गाउँपालिका अध्यक्ष लड्दै छन् । ‘सुरुमा अवरोध भयो, धम्की आयो तर विचलित भइनँ,’ उनले भने, ‘मैले संघर्ष नगरेको भए कांग्रेस, माओवादीले प्रवेश पाउने अवस्था थिएन ।’
कांग्रेसले स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्दै निर्वाचन गतिविधि चलाइरहेको छ । लामो समय गाउँबाट विस्थापित भएकी कांग्रेस नेत्री श्रीकुमारी रोका अहिले उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी अभियानको नेतृत्व गर्दै छिन् । ‘पहिले हामीलाई गाउँ पस्न पनि कठिन थियो, अहिले प्रतिस्पर्धा गर्न पाइएको छ,’ उनले भनिन् ।

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)



























