You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

सम्बन्धनकै चलखेल

- मकर श्रेष्ठ

काठमाडौं– शिक्षामन्त्री गोपालमान श्रेष्ठले शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएर ‘यसै वर्षदेखि पठनपाठन गर्न पाउने गरी’ शुक्रबार दुई दर्जनभन्दा बढी कलेजलाई ५० भन्दा बढी विषयको सम्बन्धन दिने तयारी गरेका छन् । यसमा अधिकांश कलेज प्रक्रिया पूरा नगरेका र पूर्वाधार नभएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सम्बन्धन दिन शुक्रबार परिषद् बैठक बोलाएको छ । परिषद्को अध्यक्ष शिक्षामन्त्री हुन्छन् । आर्थिकलगायत चलखेल गर्न पाइने भएकाले सबैजसो शिक्षामन्त्रीको चासो सम्बन्धनमा हुने गर्छ । प्रक्रिया, मापदण्ड र पूर्वाधार पुगेका संस्था भएमा तिनलाई शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै सम्बन्धन दिनुपथ्र्यो । सीटीईभीटीअन्तर्गतका कलेजमा भदौ १५ देखि पढाइ सुरु भइसकेको छ । ०५९ देखि ०६८ सम्म आवेदन दिएका संस्थाले माग गरेका कार्यक्रमको सम्बन्धन दिन लागेको सीटीईभीटीले जनाएको छ । ‘यो अवधिमा आवेदन दिएका संस्थाको पूर्वाधार पूरा भए नभएको श्रव्य र दृश्यसहितको प्रतिवेदन आएको छ,’ सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले भने, ‘शुक्रबारको परिषद् बैठकमा यही विषयमा छलफल हुनेछ ।’अघिल्लो सरकारका शिक्षामन्त्री धनिराम पौडेलले मंसिरमा सम्बन्धन दिन खोज्दा शैक्षिक सत्र सुरु भइसकेकाले दिन नमिल्ने भन्दै विरोध गर्ने केही कर्मचारी र पदाधिकारी नै अहिले सम्बन्धन दिनुपर्ने लबिइङ गरिरहेका छन् । बैठकको तयारीस्वरूप बुधबार सीटीईभीटी निर्देशक बैठक राखिएको थियो । उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्यसचिव वाग्ले र आठजना निर्देशक, कर्मचारी संघ/संगठनका प्रतिनिधि सहभागी बैठकमा निर्देशकहरूले समेत यो बेला सम्बन्धन दिन नहुने भन्दै विरोध जनाएका थिए तर ‘पेलेरै सम्बन्धन दिने’ तयारीमा मन्त्री र केही कर्मचारी लागिपरेका छन् । सीटीईभीटी कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र श्रेष्ठले शैक्षिक सत्र सुरु भइसकेकाले सम्बन्धन दिन नमिल्ने बताए । ‘निर्वाचन आचारसंहिता लागेका बेला र शैक्षिक सत्र सुरु भइसकेपछि सम्बन्धन दिन मिल्दैन,’ उनले भने, ‘हामीले विरोध गर्दागर्दै पनि जबरजस्ती सम्बन्धन दिन खोजिएको छ ।’

स्रोतका अनुसार सम्बन्धनमा आर्थिकलगायत चलखेल हुने गर्छ । यसपालि शिक्षामन्त्री श्रेष्ठले सम्बन्धन दिन लागेको संस्थाको भिडियोसहितको प्रतिवेदन लिएर ‘नाटक’ गरेको स्रोतले बतायो । ‘निर्वाचन आउँदै छ, अब कार्यकाल पनि थोरै छ । संस्थाहरूले वर्षौंदेखि पूर्वाधार बनाएर बसेका छन् । केहीले भाडा तिरेर बसेका छन्,’ मन्त्रीको सचिवालयकै एक कर्मचारीले भने, ‘निर्वाचनका मुखमा प्रक्रिया पूरा गरेका संस्थालाई सम्बन्धन दिन रोक्नु हँुदैन ।’ ती कर्मचारी केही दिनयता सम्बन्धन दिने कामको विरोध नगर्न र सघाउन भन्दै केही सञ्चारकर्मीलगायतसँग ‘लबिङ’ गर्दै हिँडेका छन् । गत फागुनमा भएको सीटीईभीटीको ‘म्यानेजमेन्ट रिभ्यु कन्फेरेन्स’ मा आगामी जेठ मसान्तभित्र सम्बन्धन स्वीकृति भएको संस्थालाई मात्रै संस्थाले विद्यार्थी भर्ना गर्न पाउने निर्णय गरेको छ । उपाध्यक्ष, सदस्यसचिव, निर्देशकहरू, देशभरिका शिक्षालय प्रमुखहरू, संघसंगठनका अध्यक्षहरू सहभागी भेलाले पारित गरेको निर्णयलाई लत्याउँदै सम्बन्धन दिने प्रस्ताव लान लागेको हो । सम्बन्धन दिन लागेको अधिकांश कार्यक्रम स्वास्थ्यतर्फको सामान्य चिकित्सा (एचए), रेडियोग्राफी, ल्याब टेक्निसियन, फार्मेसी, डेन्टल, अप्थाल्मिक छन्् । केहीमा फरेस्ट्री पनि छ । यसअघि दर्जनांै संस्था सञ्चालनमा रहेका ठाउँमा सम्बन्धन दिन लागिएको हो । सबैजसो सहरकेन्द्रित संस्था मात्रै छन् । नक्सांकनसमेत गरिएको छैन । एचएको सम्बन्धन पाउन अस्पताल चाहिन्छ । केही संस्थाको आफ्नै अस्पतालसमेत छैन । अरूको अस्पतालसँग सम्झौता गरेका संस्थालाई सम्बन्धन दिन लागिएको हो ।

यसअघि सरकारी अस्पतालमा सम्बन्धन नदिने निर्णय छ । कतिपयले सरकारी अस्पताल देखाएर सम्बन्धन लिन लागेका छन् । पब्लिक हिमाल, नेसनल हयुमन रिसोर्स डेभेलपमेन्ट, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई स्वास्थ्यतर्फको सामान्य चिकित्सा र ल्याब कार्यक्रमको अनुमति दिन सरकारी अस्पताल देखाएको सीटीईभीटी स्रोतले जनाएको छ । प्रक्रिया पूरा नगर्नेलाई पनि सम्बन्धन चितवनको एनपीआई र उर्लाबारीको मदन भण्डारी इन्स्टिच्युटलाई सम्बन्धनको प्रक्रिया पूरा नगरी सम्बन्धन दिन लागिएको सीटीईभीटी स्रोतले बताएको छ । यी दुई संस्थाले यसअघि नै बाली विज्ञानको सम्बन्धन लिइसकेका छन् । अब पशुविज्ञानको सम्बन्धन दिन लागिएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावलीको नियम १७ मा सम्बन्धन लिएर संस्था सञ्चालन गर्न चाहने व्यक्तिले स्वीकृतिका लागि नियम २० बमोजिमको प्रक्रिया पूरा गरी दस्तुर तिरेर तोकेको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ । २० मा जायजेथा तथा धरौटीको व्यवस्था गरेको छ ।

डिप्लोमा तह सञ्चालन गर्नका लागि आहान गरेका बेला ५ हजार दस्तुर तिरेर निवेदन दिनुपर्छ । त्यसपछि एक लाख रुपैयाँ सीटीईभीटीमा बुझाएर स्थलगत निरीक्षण गराउनुपर्ने हुन्छ । निरीक्षणबाट कार्यक्रम अघि बढाउने प्रतिवेदन पेस भएमा मात्रै कार्यक्रम सञ्चालन गर्न एलओआई पाउँछन् । पूर्वाधार तयार गरेपछि पुन: एक लाख जम्मा गरेपछि पूर्वाधार निरीक्षण हुन्छ । यो चरण सल्लाहकार समितिबाट सिफारिस भएपछि परिषद्ले स्वीकृत दिनुपर्नेमा सामान्य पत्रका भरमा सम्बन्धन दिने प्रक्रिया अघि बढाएको सीटीईभीटी स्रोतले जनाएको छ ।यी दुवै संस्थाले कृषि विषयको अनुमति लिएर आफूखुसी पशुविज्ञान पनि सञ्चालन गर्दै आइरहेका छन् । २०७० सम्म बाली विज्ञान भर्ना भएका विद्यार्थीले पहिलो वर्ष बाली विज्ञान पढ्ने र दोस्रो वर्ष पशु विज्ञानमा जान पाउने व्यवस्था थियो । चार वर्षअघि बाली र पशु विज्ञानको फरकफरक सम्बन्धन लिनुपर्ने व्यवस्था भएको कलेजहरूलाई जानकारीसमेत गराएको थियो । ‘दुवैले सम्बन्धन नलिई जबरजस्ती पशु विज्ञान पनि पढाइरहे,’ स्रोतले भन्यो, ‘पोहोर भर्ना भएकालाई यस वर्ष एक पटकलाई परीक्षा दिन सक्ने र अब कृषिमा मात्रै भर्ना गर्न‘पर्ने निर्णय गरेको छ ।’

यस्ता संस्थालाई प्रक्रिया पूरा नगरी पशुतर्फको ४० जना भर्ना गर्न पाउने गरी सम्बन्धन दिन लागेको स्रोतले जनायो । ‘अरू विषयमा चाहिं प्रक्रिया पूरा गर्नुपर्ने, यी दुई संस्थाले कुनै प्रक्रिया पूरा गर्नु पर्दैन ? धरौटी र सम्बन्धन शुल्क तिर्नु पर्दैन ?,’ सीटीईभीटी स्रोतले भन्यो । पूर्वाधार नपुगेकालाई सम्बन्धन दिँदै परिषद्को बैठकले ट्रस्टका नाममा दर्ता भएका बुटवलको प्रतिमान निमा हेल्थ इन्स्टिच्युटलाई पूर्वाधार पूरा नगरी सम्बन्धन दिन लागेको छ । ०६८ अघिको संस्थालाई सम्बन्धन दिने भनिए पनि यो संस्थाले ०७१ मा मात्रै निवेदन दर्ता गराएको हो ।
शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले ०६९ पछि दर्ता भएका संस्थालाई सम्बन्धन नदिन गरेको सिफारिसलाई समेत लत्याउँदै यो संस्थालाई सम्बन्धन दिन लागिएको हो । गौतम कार्यदलले कम्तीमा ५ रोपनी जग्गा हुनुपर्ने, डिप्लोमा कार्यक्रम नपुगेका जिल्लालाई प्राथमिकता दिनुपर्ने, नक्सांकनका आधारमा सम्बन्धन दिनुपर्नेलगायत सुझाव दिएको थियो । यस्ता सुझावलाई लत्याएर प्रतिमान निमालाई फार्मेसी र फरेस्ट्री विषय सञ्चालनको सम्बन्धन दिन लागेको हो । यो संस्था राप्रपा नेता दीपक बोहराका बुबाआमाका नाममा खोलिएको हो । बोहराकै दबाबमा सीटीईटीभीले फास्टट्रयाकबाट सम्बन्धन दिन लागेको स्रोतको दाबी छ । जब कि सीटीईभीटी परिषद्को
०७३ वैशाख २३ मा भएको १४३ औं बैठकअनुसार यो संस्थालाई सम्बन्धन दिन मिल्दैन । यो बैठकले ट्रस्टले डिप्लोमा तहमा फास्टट्रयाकबाट प्रस्तावना दर्ता र सम्बन्धन लिन नपाउने निर्णय गरेको छ ।

गृह पृष्ठ

फेरि अनशन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चिकित्सा शिक्षा विधेयकलाई माथेमा प्रतिवेदनको भावना र आफ्ना सुझावअनुरूप संसद्बाट तुरुन्त पारित गर्नुपर्नेलगायत ४ सूत्रीय माग राख्दै डा. गोविन्द केसीले बिहीबार १३ औं आमरण अनशन थालेका छन् । दसैंअघि अनशन स्थगन गरेका केसीले मुख्य ३ दलको साँठगाँठमा चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर माफिया र व्यवसायमुखी बनाई पारित गर्न लागिएको भन्दै संसद् बैठक बस्ने अघिल्लो दिन अनशन थालेका हुन् । नवमीका दिन प्रधानमन्त्रीलाई भेटेर आफूले विधेयकमा गर्न लागिएको तोडमोडबारे जानकारी गराउँदै यसलाई जनता र विद्यार्थीमुखी बनाउन माग राखे पनि सुनुवाइ नभएको उनले बताए । प्रधानमन्त्रीलाई आफूले बिहीबार दिउँसोसम्म माग पूरा नभए पुन: सत्याग्रहमा बस्ने जानकारी गराएको पनि उनले बताए । ‘प्रधानमन्त्रीलाई सबै जानकारी दिँदा पनि उहाँले केही गर्नुभएन,’ केसीले भने । मेडिकल माफियासँग मिलेर काठमाडौं विश्वविद्यालयले एमबीबीएसको शुल्क ६० लाखभन्दा बढी तोकेकोमा यसलाई तत्काल फिर्ता लिनुपर्ने उनको माग छ । ‘सरकारी निर्णयविपरीत माफियाको मिलोमतोमा शुल्क बढाउने केयूका डिन राजेन्द्र कोजु र उपकुलपति रामकण्ठ माकजुलाई अविलम्ब कारबाही गर्नुपर्छ,’ उनले भने । उनले त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा चिकित्साशास्त्र स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गर्न माग गरेका छन् ।

गृह पृष्ठ

‘दलगत कूटनीतिबाट माथि उठ्नुपर्छ’

राजदूतहरूको सुझाव
- चन्द्रशेखर अधिकारी

काठमाडौं– भारत, चीन र अमेरिकाका लागि नेपाली राजदूतहरूले भूराजनीतिको जटिलतामा रहेको नेपालले परराष्ट्र सम्बन्धमा एकै स्वर र समान धारणा बनाउनुपर्ने बताएका छन् । तीन भिन्दाभिन्दै दलबाट सिफारिस भएका राजदूतहरूले दलगत कूटनीतिबाट माथि उठ्नुपर्ने सुझाव पनि दिए । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा उनीहरूले दलपिच्छेको नभई मुलुकको हितमा अडेर कूटनीति सञ्चालन गर्नुपर्ने बताए ।
भारतका लागि राजदूत दीपकुमार उपाध्याय कांग्रेस, चीनका लागि राजदूत लीलामणि पौडेल माओवादी र अमेरिकाका लागि राजदूत अर्जुनकुमार कार्की एमाले सिफारिसका हुन् । यी तीन मुलुकले नै अबको विश्व कूटनीति र आर्थिक समृद्धिलाई नेतृत्व दिने स्थिति आइसकेकाले नेपालले सबैसित एकमतले सहकार्य गर्नुपर्नेमा उनीहरूको जोड थियो । कतिपय स्थितिमा एक अर्का राजदूतबीच सहकार्य गरेर काम गर्नुपर्नेसमेत उनीहरूले बताए । ‘नेपालले भारत, चीन र अमेरिकामध्ये कुनै एक वा अर्कालाई अन्डरमाइन गर्न मिल्दैन,’ उनीहरूले भने, ‘त्यसमा सचेत भएर अघि बढ्नुपर्छ ।’
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बदलिँदो विश्व परिस्थितिअनुरूप नेपालको परराष्ट्र नीतिमा सुधारको थालनीका लागि भन्दै पहिलो चरणमा यी तीन राजदूतलाई बोलाएको हो । राजदूत उपाध्यायले भने, ‘परराष्ट्र मन्त्रालय वैदेशिक मामिला सञ्चालन र कार्यान्वयनको केन्द्र हो, यसलाई बाइपास गरेर अगाडि बढ्न हँुदैन । मन्त्रालयको संरचना पनि त्यहीअनुरूप हुनुपर्छ ।’राजदूत पौडेलले चीनको आर्थिक विकासबारे उल्लेख गर्दै भने, ‘हामीले बेल्ट एन्ड रोड इनिसिएटिभ्सबाट फाइदा लिन सक्नुपर्छ, चीनसँगको सम्बन्ध र सहकार्यले छिट्टै आर्थिक विकास गर्न सक्छांै, त्यसमा ढिलाइ गर्न हँुदैन । सहयोग गर्न चाहन्छन् भने हामी खुम्चिएर बस्न हुँदैन ।’ राजदूत कार्कीले अमेरिका, चीन र भारतले नै अबको विश्वको राजनीतिमा भूमिका खेल्ने भएकाले यसमा ध्यान पुर्‍याउन सक्नुपर्ने बताए । दूतावासहरूमा आलोपालो नभई कूटनीतिक दक्षताका आधारमा पोस्टिङ गर्नुपर्ने र त्यसैअनुरूपको क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए । तीनै राजदूतले आफ्नो मिसनका कर्मचारीको मूल्यांकन गर्न नपाउने विषयलाई गुनासोका रूपमा राखेका थिए । समितिमा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मन्त्रालयमा सुधार प्रयास भइरहेको उल्लेख गर्दै ७ दशकदेखि चलिआएको परम्पराबाट माथि उठ्न आवश्यक रहेको बताए । कूटनीतिमा समान धारणा र शक्ति सन्तुलनमै अघि बढ्नुपर्ने बताए र यसका लागि आफूले कार्ययोजना नै ल्याएर काम गरिरहेको उनले जनाए । कार्यक्रममा हालै संयुक्त राष्ट्रसंघको महासभाका बेला न्युयोर्कमा भएको कूटनीतिक ल्याप्सबारे पनि जानकारी लिइएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री महरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रात्रिभोजमा जान नपाएको र अमेरिकी राजदूत डेलिगेसनमा नपरेको विषयबारे सोधिएको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वपरराष्ट्रमन्त्रीहरू डा. रामशरण महत, सुजाता कोइराला र महेन्द्र पाण्डेको उपस्थिति थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईलाई सन्देशसहित पठाएका थिए ।

गृह पृष्ठ

नोबेल साहित्य इसिगुरोलाई

स्टकहोम (रोयटर्स)– सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार जापानी मूलका बेलायती लेखक काजुओ इसिगुरोले पाएका छन् । स्विडेनको स्टकहोममा बिहीबार आयोजित कार्यक्रममा नोबेल पुरस्कार प्रतिष्ठानका तर्फबाट स्थायी सचिव सारा ड्यानियसले इसिगुरोलाई पुरस्कार दिइने घोषणा गरेकी हुन् । उनले इसिगुरोलाई ‘बेजोड भावनात्मक उपन्यासमार्फत सांसारिक सम्बन्धबारे भ्रमपूर्ण भावको गहिराइ उजागर गरेकाले’ पुरस्कार दिने निर्णय भएको बताइन् । यसका लागि उनको सन् २०१५ मा प्रकाशित कृति ‘द बरिड जाएन्ट’ ले प्रमुख भूमिका निर्वाह गरेको नोबेल पुरस्कार समितिले जनाएको छ । इसिगुरोको लेखनशैली साहित्यकार जेन अस्टिन र फ्रान्ज काफाको सम्मिश्रण भएको उल्लेख गर्दै सचिव ड्यानियसले भनिन्, ‘यदि तपाईंले ती दुई साहित्यकारको थोरै मात्र स्वाद मिसाउनुभयो भने इसिगुरोको लेखकीय स्वाद पाउन सक्नुहुनेछ ।’ नोबेल पुरस्कार पाएको खबरले आफूलाई ‘आश्चर्यजनक खुसी’ लागेको उल्लेख गर्दै इसिगुरोले प्रतिक्रिया दिए, ‘यो अत्यन्तै उच्च स्तरको आदर हो । मैले विश्वका चर्चित साहित्यकारको पदचाप पछ्याएकाले यो सफलता पाउन सकेको हुँ ।’ सबै विधाका नोबेल पुरस्कारले हाल विश्वमा देखिएको अनिश्चितता अन्त्य गर्न भूमिका खेल्न सक्नुपर्ने पनि उनले बताए । जापानको नागासाकीमा जन्मेका इसिगुरोलाई ५ वर्षकै उमेरमा बाबुआमाले बेलायत लगेका थिए । उनले बेलायतको केन्ट विश्वविद्यालयमा अंग्रेजी र दर्शनशास्त्र पढेका थिए । ६२ वर्षीय इसिगुरोका ८ कृति प्रकाशित छन् । उनका किताब ४० भन्दा बढी भाषामा अनुवादित छन् । तीमध्ये ‘द रिमेन्स अफ द डे’ र ‘नेभर लेट मी गो’ विश्वचर्चित छन् । १९८९ मा प्रकाशित ‘द रिमेन्स अफ द डे’ ले बुकर पुरस्कार पाएको थियो । इसिगुरोले सन् १९८० को दशकमा प्रकाशित ‘अ पेल भ्यु अफ द हिल्स’ र ‘द रिमेन्स अफ द डे’ कृतिका कारण विश्वव्यापी चर्चा पाएका थिए । आफूलाई प्राप्त २४० प्रस्तावबाट इसिगुरो छानिएको पुरस्कार समितिले जनाएको छ ।

गृह पृष्ठ

४४ वर्षपछि फर्कियो सदरमुकाम

- हरि गौतम
पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटस्थित जिल्लास्तरीय सरकारी कार्यालय उद्घाटनका क्रममा झाँकी प्रस्तुत गर्दै स्थानीय । तस्बिर : हरि/कान्तिपुर

रुकुमकोट– रुकुमकोटबाट जबर्जस्ती सदरमुकाम मुसीकोट सारिँदा तारकबहादुर शाहको मन जति कुँडिएको थियो, बिहीबार उनै ७३ वर्षीय शाहको खुसीको सीमा थिएन । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट नै बनेपछि उनीजस्तै सबै स्थानीय हर्षित छन् । गृहमन्त्री जनार्दन शर्माले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरीलगायत कार्यालय उद्घाटन गर्दै सदरमुकाम रुकुमकोट भएको घोषणा गरे । सदरमुकाम फर्किएको खुसियालीमा सर्वसाधारणले मयूर, पैसेरु, पञ्चेबाजासहित झाँकी निकाले । ४४ वर्षअघि सदरमुकाम मुसीकोट सारिएपछि फिर्ताको माग गरेकै कारण शाहले राजकाज मुद्दा लागेर एक वर्ष जेल बस्नुपरेको थियो । ‘जसका लागि लडिएको थियो, त्यो पाएपछि खुसी नहुने कुरै भएन,’ उनले भने, ‘झन्डै आधा दशकपछि जनताको माग सम्बोधन भएको छ ।’ विधानमा पूर्वी र पश्चिम रुकुम उल्लेख भएपछि साविकको रुकुमलाई प्रदेश ५ र ६ मा राखिएको छ । त्यसैअनुसार नयाँ जिल्ला पूर्वी रुकुम कायम गरी सदरमुकाम रुकुमकोट राखिएको हो । सीमा निर्धारण आयोगले प्रदेश ५ मा परेको भूभागलाई पूर्वी र प्रदेश ६ मा परेको भूभागलाई पश्चिम रुकुम जिल्ला भनेर निर्वाचन केन्द्रसमेत तोकिदिएको छ । तत्कालीन राजाको हुकुम र अञ्चलाधीशको जबर्जस्तीमा रुकुमकोटबाट सदरमुकाम सारिएको थियो । त्यसका लागि मुसीकोटका प्रधानपञ्चहरूले राजा र अञ्चलाधीशसँग साँठगाँठ गरेका थिए । २०३० वैशाख १ गते बिहानै रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम जनताको इच्छाविपरीत मुसीकोट खलंगामा सारिएको थियो । ‘सदरमुकाम खोसेर लिइएको थियो,’ शाह ती दिन सम्झन्छन्, ‘सदरमुकाम सार्नुहुन्न भन्ने माग गर्दै सत्याग्रहको तयारीमा रहेका जनतालाई कुल्चिएर सदरमुकाम सारिएको पीडा बल्ल आज मेटियो ।’
राजा महेन्द्रले २०१८ सालमा ३६ जिल्लालाई बढाएर ७५ वटा घोषणा गर्दा नयाँ बनाइएको रुकुम जिल्लाको सदरमुकाम रुकुमकोट तोकिएको थियो । २०१८ सालमा जिल्ला घोषणा र सदरमुकाम तोकिए पनि २०१९ सालदेखि मात्रै कामकाज सुरु भएको थियो । १२ वर्षसम्म सदरमुकाममा हुने सम्पूर्ण सेवा सुविधा घरदैलोमै पाएका रुकुमकोटवासीको अधिकार तत्कालीन राजा वीरेन्द्रले खोसिदिएको गुनासो रुकुमकोटवासीको छ । आफन्त र नातागोताको उक्साहटमा लागेर राजा वीरेन्द्रले २०२५ सालमा सुर्खेतमा भएको एक कार्यक्रममार्फत सदरमुकाम मुसीकोट सार्ने घोषणा गरेका थिए । घोषणापछि आक्रोशित रुकुमकोट तथा त्यस आसपासका बासिन्दाले सदरमुकाम नसार्न जति बिन्तीपत्र चढाए पनि त्यसको बेवास्ता भएको शोभा गाविस (हालको रुकुमकोट) का पूर्वअध्यक्ष हरिकृष्ण गौतमले बताए । ‘घोषणाको ५ वर्षसम्म सदरमुकाम सार्न नदिइए पनि अन्तत: राजाको बलजफ्तीका कारण सारियो,’ उनले सम्झिए । राजा वीरेन्द्रका नजिकका ‘आफन्त’ मुसीकोट खलंगामा थिए ।
सदरमुकाम हैसियतमा रुकुमकोटमा तत्कालीन समयमा जिल्ला पञ्चायत, माल कार्यालय, पीडीओ कार्यालय, अदालत, प्रहरी थाना, हुलाक, शिक्षा शाखा, आवालगायतबाट सर्वसाधारणले सेवा लिन्थे । सजिलै पाएको सुविधा खोसिएपछि रुकुमकोट र यस आसपासका बासिन्दा पीडित भएको गौतमको गुनासो छ । ‘४४ वर्षदेखिको पीडा र आक्रोश अब मत्थर भएको छ,’ उनले भने ।


राजाको घोषणा राजपत्रमा छापिसकेकाले केही दिनका लागि मात्रै भए पनि सदरमुकाम सार्ने र पछि फेरि फिर्ता गर्ने वचन दिएर तत्कालीन अञ्चलाधीश लक्ष्मीराजभक्त नेपालीले स्थानीयसँग आग्रह गरेका थिए । सोही सर्तनामालाई आधार बनाएर पूर्वी क्षेत्रका सर्वसाधारणले सदरमुकाम फर्काउने प्रयास नगरेका पनि होइनन् । साता दिनपछि फिर्ता माग्न गएका उनीहरू तत्कालीन प्रहरीले गोली चलाएपछि फर्केका थिए । झन्डै १६ हजारको हाराहारीका सर्वसाधारण सदरमुकाम फर्काउन मुसीकोट खलंगा पुगेपछि प्रहरीले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा तोडिएपछि प्रहरीले चलाएको गोली लागेर रुकुमकोट टाकुराका २५ वर्षीय मनबहादुर थापाको मृत्यु भएको थियो भने अन्य थुप्रै घाइते भए । सोही प्रकरणमा १८ जनालाई राजकाज मुद्दा लगाएर एक वर्षसम्म जेलमा राखिएको थियो । बिहीबारदेखि नै अधिकांश कार्यालयले रुकुमकोटबाट सेवा सुरु गरेका छन् । पश्चिम रुकुममै कार्यालय स्थापना गरिएको जिल्ला समन्वय समिति र यसअघि इलाका प्रशासन कार्यालयको काम पनि रुकुमकोटबाट थालिएको छ । साविकको इलाका प्रहरी कार्यालय पनि बिहीबारदेखि जिल्ला प्रहरीमा रूपान्तरण भएको छ । राष्ट्रिय अनुसन्धान कार्यालय पनि स्थापना भएको छ । मालपोत र नापी कार्यालय यसअघि नै रुकुमकोटमा सञ्चालन भइसकेका छन् । अब जिल्ला अदालत, सरकारी वकिलको कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालय स्थापना भए जिल्लाले करिब सबै कार्यालय पाउने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले बताए । सिस्ने गाउँपालिकाका नन्दराम लामिछानेले पूर्वी क्षेत्रले छुट्टै जिल्ला पाउनु र रुकुमकोटमा सबै कार्यालयले सेवा दिन थालेकामा खुसी लागेको बताए ।

Page 2
समाचार

साढे ९ करोडको भ्रष्टाचार आरोप, ७४ लाख बचतको फैसला

ल्यारक्याल लामाको कमाइ
- कृष्ण ज्ञवाली

काठमाडौं– सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको आरोप लागेका सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन् । अदालतले उनलाई सफाइ त दियो नै, साथै आम्दानीको तुलनामा खर्च कम भएको भन्दै उनको ७४ लाख रुपैयाँ बचत हुनुपर्ने फैसलासमेत गर्‍यो । करिब एक दशकपछि दोस्रो तहका राजनीतिक नेतामाथि गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा हात हालेको अख्तियारको अनुसन्धान न्यायिक परीक्षणमा असफल भएको हो । सबैभन्दा ठूलो बिगोको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अख्तियार असफल भएपछि लामा रजनीतिक जीवनमा फर्किसकेका छन् । अख्तियारको आरोपपत्र र विशेष अदालतको फैसला हेर्दा तथ्यांक विश्लेषणमा साढे १० करोड रुपैयाँको फरक देखिएको छ । लामामाथि विवादास्पद प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा मुद्दा दायर भएको थियो । माओवादी केन्द्रका सांसद लामाले ९ करोड ४४ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोगमा अख्तियारले २०७२ कात्तिक ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २०५८ देखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानबिन गरेको थियो । त्यसक्रममा २० करोड ३४ लाख रुपैयाँ वैध आर्जन गरेर २९ करोड ७९ लाख खर्च गरेको अख्तियारको दाबी थियो । आर्जनको तुलनामा खर्च बढी भएको ९ करोड ४४ लाख रुपैयाँलाई ‘गैरकानुनी आर्जन’ भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।विशेष अदालतले तयार पारेको फैसलाको पूर्ण पाठमा अख्तियारको आरोपलाई अस्वीकार मात्रै गरिएको छैन, लामाको सम्पत्ति उल्टै बचत हुने तथ्यांक विश्लेषणसमेत छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यहरू प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलामा सार्वजनिक पदमा रहँदा लामाले आम्दानीको तुलनामा कम खर्च गरी ७४ लाख ३४ हजार रुपैयाँ बचत गरेको उल्लेख छ । २९ करोड ९ लाख रुपैयाँ वैध आम्दानी गरेका लामाले २८ करोड ३५ लाख रुपैयाँ खर्च गरेको विशेष अदालतको ठहर छ ।


अख्तियारको दाबी के थियो ?

लामाले तलब भत्ता, जग्गा बिक्री, ऋण सापटीलगायतबाट आम्दानी देखाएर गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी थियो । घर निर्माण, जग्गा खरिद, सेयर, सवारी साधन तथा विभिन्न घरायसी सामान खरिद र बैंक मौज्दात गरेको अख्तियारको दाबी थियो । लामाको अत्यधिक जग्गा कारोबार र त्यस क्रममा भएको खरिदबिक्रीको उतारचढावको दरलाई नै शंकास्पद मानेको थियो । ३३ लाखमा खरिद भएको जग्गा तीन महिनापछि डेढ करोडमा बिक्री भएको देखाइएको अख्तियारको दाबी थियो । उसले सुरुकै आर्जन वैध नदेखिएकाले त्यसबाट भएका अन्य कारोबारलाई पनि अवैध भनी मागदाबी गरेको थियो । लामा २०५८ सालदेखि दुई पटक गुम्बा विकास समितिको अध्यक्ष बने । संघीय मामिला तथा स्थानीय विकासमन्त्रीले गर्ने राजनीतिक नियुक्तिमा उनले लगातार दुई कार्यकाल अनवरत रूपमा काम गरे । त्यसक्रममा केही रकम गैरकानुनी आर्जन देखिए पनि त्यसको ग्राफ खासै उक्लेको देखिँदैन । २०६२ सालमा उनको दोस्रो कार्यकाल पूरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुन:स्थापित संसद्बाट रूपान्तरित व्यवस्थापिका संसद्को सभासद बने । सांसद र सभासद भएको अवधिमा उनको आर्जन गरेको सम्पत्ति अस्वाभाविक रूपमा बढेको अख्तियारले गरेको तथ्यांक विश्लेषणमा उल्लेख छ । लामामाथिको पछिल्लो छानबिनले करिब १० करोड रुपैयाँ जग्गामा मात्रै लगानी गरेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । बूढानीलकण्ठमा उनको ३ वटा घर रहेको भनी अख्तियारले आरोप लगाएको थियो, जसमध्ये एउटा घरमा उनी बस्थे भने बाँकी दुईमा बौद्ध भिक्षुहरूका लागि विद्यालय सञ्चालन गरेको उनले बयानका क्रममा खुलाएका थिए । उनको ९० लाख रुपैयाँ मूल्यांकन गरिएको सवारी साधन पनि छानबिनमा परेको थियो ।अख्तियारले २०७२ मंसिरमा विभिन्न सार्वजनिक पदमा रहेका २९ जनाको बैंक लकर रोक्का गरेर सम्पत्ति छानबिन गरेको थियो, जसमा लामा पनि एक थिए । लामामाथि अख्तियारले पुस १८ मा पत्र काटेर बोलाएकोमा २० देखि २२ गतेसम्म ४ करोड रुपैयाँ खाताबाट निकालिएको थियो । त्यसपछि उनको खातामा ६४ लाख रुपैयाँ मात्रै बाँकी थियो । लामामाथि छानबिनका क्रममा अख्तियारले दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकमा रहेको लकरबाट गोली बरामद गरेको थियो । त्यसपछि प्रहरीले उनीमाथि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत फौजदारी मुद्दा चलाएपछि उनी पदबाट निलम्बनमा परेका थिए । सम्पत्ति विवरणमा उल्लेख नगरे पनि लाजिम्पाटस्थित स्टान्डर्ड चार्टर्ड बैंकको लकर पनि भेटिएको थियो, लगत्तै छानविन हुनासाथ लकर रित्तो भेटिएको अख्तियार स्रोतले बतायो ।


विशेषको फैसला कस्तो छ ?

अख्तियारले ल्यारक्याल लामाले सार्वजनिक पदमा रहेको अवधिमा केवल २० करोड ३४ लाख रुपैयाँ मात्रै वैध आम्दानी गरेको दाबी गरेको थियो । विशेष अदालतले भने सम्पत्ति विश्लेषणका क्रममा त्यसबाहेक उनले ८ करोड ७५ लाख रुपैयाँ समेत आर्जन गरेको र त्यसलाई बेवास्ता गर्न नमिल्ने ठहर्‍याएको छ । जसअनुसार जग्गा खरिद, बौद्ध धर्मसम्बन्धी पुस्तक बिक्री, सिद्धार्थ फाउन्डेसनको नामबाट विभिन्न बैंकबाट काटिएको चेकबाट प्राप्त रकमसमेत जोडिनुपर्ने विश्लेषण गरेको छ । यसबाट लामाको कुल वैध आर्जन २० करोड ३४ लाख रुपैंयाबाट बढेर २९ करोड ९ लाख हुन पुगेको छ ।लामाले आफ्नो आर्जनबाट सेयर खरिदमा १ करोड ५३ लाख, ऋण सापटी सावाँ–ब्याज भुक्तानीमा ४ करोड ६ लाख, १ लाख ६० हजार नगद मौज्दात, घरायसी सामान खरिदमा १५ लाख ५० हजार रुपैयाँ खर्च देखाएका थिए । छानबिन हुनासाथ झिकिएको ४ करोड ४२ लाख रुपैयाँलाई विशेष अदालतले अन्यथा भन्न नमिल्ने ठहर्‍याएको छ । बैंक मौज्दात ६४ लाख ६७ हजार, जग्गा खरिदमा १० करोड ८८ लाख, घर निर्माणमा ७ करोड १७ लाख र सवारी साधन खरिदमा ९० लाख खर्च भएको भनी अख्तियारले आरोप लगाएको थियो ।

विशेष अदालतले यी सबै तथ्यलाई यथावत् रूपमा स्विकार्दै घर निर्माणको हकमा ७ करोड १७ लाख रुपैयाँलाई अस्वीकार गरेको छ । व्यक्तिगत रूपमा घर निर्माण गर्दा ठेकेदारलाई १५ प्रतिशत नाफा र ५ प्रतिशत ठेक्का कर दिन नपर्ने भएकाले २० प्रतिशत लागत घटाउनुपर्ने भनी विशेष अदालतले घर निर्माणको खर्चमा १ करोड ४३ लाख रुपैयाँ घटाएको छ । यसबाट लामाले गरेको लगानीको खर्चसमेत अख्तियारले दाबी गरेजस्तो २९ करोड ७९ लाख रुपैयाँ नभई त्यसबाट घटेर २८ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ । ‘२९ करोड ९ लाख रुपैयाँ कुल वैध आर्जनबाट २८ करोड ३५ लाख रुपैयाँ व्यय (लगानी) गरेको देखिन आयो,’ फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘खर्चको तुलनामा ७४ लाख ३४ हजार रुपैयाँ बढी आम्दानी देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको भन्ने दाबी पुष्टि हुने आधार देखिएन ।

’लामा को हुन् ?

लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट सांसद हुन् । विवादित पृष्ठभूमिका उनी यसअघि २०५८ पुसमा गुम्बा विकास समितिका अध्यक्ष थिए । त्यसपछि उनी माओवादी सिफारिसमा व्यवस्थापिका संसद् सदस्य थिए । उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रित्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो । अख्तियारले २०५८ सालदेखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानबिन गरेको थियो । लामा २०५८ सालदेखि दुईपटक गुम्बा विकास समितिको अध्यक्ष बनेका थिए । संघीय मामिला तथा स्थानीय विकासमन्त्रीले गर्ने राजनीतिक नियुक्तिमा उनले लगातार दुई कार्यकाल काम गरे । २०६२ सालमा उनको दोस्रो कार्यकाल पूरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुन:स्थापित संसद्बाट रूपान्तरित व्यवस्थापिका संसद्मा माओवादी सिफारिसमा सांसद थिए । त्यसपछि उनी अख्तियारले तीन पटक सार्वजनिक अवस्थामा रहेका बखत उनले गरेको आर्जनको छानबिन गरेको थियो । उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रित्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो । विशेष अदालतबाट सफाइ पाएपछि २०७३ कार्तिकदेखि उनको सांसद पद निलम्बनबाट फुकुवा भएको छ ।

समाचार

चुनावी तालमेल मिलाउन गृहकार्य

लोकतान्त्रिक गठबन्धन
- कुलचन्द्र न्यौपाने

काठमाडौं– कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन तयार भएका ६ दलले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र बाँडफाँड गर्न बिहीबार गृहकार्य थालेका छन् । गठबन्धन बनाउन सैद्धान्तिक सहमति जनाएका कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँड गर्ने विषयमा गृहकार्य अघि बढेको हो ।
बुधबार बसेको ६ दलको शीर्ष तहको बैठकले चुनावी तालमेलका लागि सिट फाँडफाँडमा सहमति जुटाउन कार्यदल गठन गरेको थियो । कार्यदलमा रहेका सदस्य राजधानीमा जुट्न ढिलाइ भएका कारण बिहीबार बिहानैदेखि बस्ने भनिएको बैठक राति ८ बजेबाट मात्रै सुरु भएको थियो । कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, पूर्णबहादुर खडका र मीनेन्द्र रिजाल छन् । राजपाबाट सर्वेन्द्रनाथ शुक्ल, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, राप्रपाबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक) बाट विक्रम पाण्डे र फोरम लोकतान्त्रिकबाट गोपाल दहित छन् । कार्यदल सदस्य खडकाले भने, ‘पहिलो बैठक भएकाले सैद्धान्तिक विषयमा मात्रै छलफल भएको छ,’ उनले भने, ‘जतिसक्दो चाँडै सहमति जुटाउन खोज्दैछौं ।’
बृहत् लोकतान्त्रिक गठबन्धन निर्माणसँगै अन्तर पार्टी एकता कायम गरी उम्मेदवार चयन गर्ने विषयमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार पनि बैठक बसेको थियो । बैठकमा प्रतिनिधिसभा, प्रेदशसभा र समानुपातिक उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्ने लोकप्रिय र जनप्रियलाई उम्मेदवार बनाउन सबैजसोले जोड दिएका छन् । स्थानीय तहका चुनावमा उम्मेदवार चयन गर्दा गल्ती गरेकै कारण पार्टी दोस्रो स्थानमा पुगेको विश्लेषणसमेत नेताहरूले गरेका थिए । गल्ती दोर्‍याउन नहुनेमा जोड दिँदै अधिकांश नेताले उम्मेदवार चयनअघि उम्मेदवारको मापदण्ड र विधि तय गर्नुपर्नेमा जोड दिए । स्थानीय तहमा उम्मेदवार भएकाले प्रदेशसभा, प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा पनि कांग्रेसले शुक्रबार निर्णय लिने भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार छनोट गर्दा अपनाउनुपर्ने मापदण्ड र विधि तय गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बोलाइएको बताए । बैठकले उम्मेदवार छनोटको स्पष्ट मापदण्ड र कार्यविधि तय गर्ने जनाउँदै वापपन्थी ध्रुवीकरणविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल हुने उनले बताए । ‘लोकतान्त्रिक गठबन्धन बनाउने विषय चुनावी तालमेलसँग जोडिएको छ,’ पौडेलले भने, ‘कहाँ कुन पार्टीको पोजिसन कस्तो छ भन्ने आधारमा तालमेल गर्ने गरी कार्यदलले गृहकार्य सुरु गरेको छ ।’ लोकतान्त्रिक गठबन्धनमा जोडिन आएकामध्ये राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिको मुख्य जनाधार रहेको क्षेत्र मधेस हो । संघीय समाजवादी फोरमको संगठन भने देशभर छ । कांग्रेसले मधेसका निर्वाचन क्षेत्रमै चुनावी तालमेललाई प्राथमिकता दिएको छ । स्रोतका अनुसार प्रदेश नम्बर २ मा कांग्रेसले ५० प्रतिशत आफूले राखेर पचास प्रतिशत गठबन्धनमा सामेल अन्य ५ दलबीच बाँडफाँड गर्ने गरी छलफल अघि बढाएको छ । तर राजपा र फोरम पचास प्रतिशत कांग्रेसलाई दिन तयार भइसकेका छैनन् । ‘२ नम्बर प्रदेशमै कांग्रेसले ५० प्रतिशतको हिस्सा खोजेकाले समस्या भइरहेको छ,’ राजपाका एक नेताले भने, ‘तैपनि सहमतिको प्रयास जारी छ ।’ ६ दल सम्मिलित कार्यदलले सुरुमा प्रदेश नम्बर २ र त्यसपछि १, ५ र ७ नम्बर प्रदेशमा तालमेल गर्ने गरी छलफल अघि बढाएको छ । केन्द्रीय सदस्य प्रकाशशरण महतले कुन जिल्लामा कुन पार्टीको प्रभाव कस्तो छ, त्यसका आधारमा सिट बाँडफाँड गर्ने गरी तालमेल हुने बताए । ‘मुख्य आधार भनेकै जिल्ला, क्षेत्रमा कुन राजनीतिक दलको स्ट्रेन्थ कस्तो छ, त्यसका आधारमा बाँडफाँड हुने हो,’ महतले भने, ‘कार्यदलले
त्यसैलाई आधार मानेर छलफल चलाएको छ ।’ मधेसबाहेकका अन्य जिल्लामा पनि प्रभाव क्षेत्र हेरेर तालमेल हुने बताए ।


वामपन्थी ध्रुवीकरणले मुलुकमा अस्थितरता ल्याउँछ : पौडेल

वरिष्ठ नेता पौडेलले वामपन्थी ध्रुवीकरणले मुलुकमा अस्थिरता ल्याउने बताए । ‘वामपन्थी धु्रवीकरणले मुलुकमा अस्थिरता ल्याउने भएकाले त्यसलाई रोकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि पनि लोकतान्त्रिक गठबन्धन आवश्यक छ,’ उनले भने, ‘टुंगो लागिसकेको व्यवस्थालाई विस्थापित गरी साम्यवाद स्थापना गर्ने उद्देश्यका साथ गठन गरिएकाले यो अस्थिरता ल्याउनकै लागि गरिएको धु्रवीकरण हो ।’


अन्य दललाई पनि तान्ने प्रयास जारी

प्रधानमन्त्री शेरबहादुर देउवाले ६ दलबाहेक अन्य साना दललाई पनि लोकतान्त्रिक गठबन्धनमा सामेल हुन आग्रह गरेका छन् । उनले संसदमा नरहेका मोहन वैद्य नेतृत्वको माओवादीलाई समेत लोकतान्त्रिक गठबन्धनमा सामेल हुन आग्रह गरे । वैद्य प्रधानमन्त्री देउवासँग छलफल गर्न बिहीबार साँझ बालुवाटार पुगेका थिए । वरिष्ठ नेता पौडेलले बिहीबार नै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग कुराकानी गरेका थिए । पौडेलसँगको कुराकानीमा केसीले कांग्रेस नेतृत्वको गठबन्धनसँग आफ्नो पार्टीले तालमेल गर्न तयार रहेको जवाफ दिएका थिए ।


मन्त्रिपरिषद् पुनर्गठन हुन्न: कार्की

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय छलफलमा नआएको बताएका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई हटाएर लोकतान्त्रिक गठबन्धनमा आउन लागेका दललाई सरकारमा ल्याउने तयारी गरिरहेको भन्ने हल्लामा कुनै सत्यता नभएको कार्कीले दाबी गरे । ‘कार्यसम्पादन समितिको बैठकमा समेत यस विषयले प्रवेश पाएको छैन,’ कार्कीले भने, ‘अहिले मन्त्रिपरिषद् पुर्नगठन गर्ने छलफल होइन, तोकिएको समयमा यही सरकारले चुनाव गराउने विषय मात्रै उठेको छ ।’

समाचार

वाम गठबन्धनले ३ दिनभित्र क्षेत्र बाँडफाँड गर्ने

- कान्तिपुर संवाददाता

काठमाडौं– वाम गठबन्धनले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका क्षेत्र ३ दिनभित्र बाँडफाँड गर्ने भएका छन् ।क्षेत्र र उम्मेदवार चयनसम्बन्धी कार्यदलको बिहीबार बसेको बैठकमा तीनै दलका प्रतिनिधि सहभागी थिए । अघिल्लो दिन पार्टी एकता संयोजन समितिले एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । एमालेकै उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदलसमेतको बैठक बसेको थियो । ‘सबै दलले आआफ्ना विवरण राख्ने काम सुरु गरेका छन् । हामी गहन ढंगले अध्ययन गरिरहेका छौं,’ संयोजक पोखरेलले जानकारी दिए । दुवै कार्यदलको संयुक्त बैठक बसेको थियो । बैठकले क्षेत्र बाँडफाँड ३ दिनभित्र र घोषणापत्र ७ दिनभित्र तयार पारिसक्ने निर्णय गरेका हुन् । बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुवै कार्यदललाई समयमै काम गर्न आवश्यक निर्देशन दिएका थिए । प्रत्यक्षमा एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत सिट हुने गरी तालमेल भएको हो । नयाँ शक्ति र अन्य दललाई छुट्याएर बाँकी रहेका सिटमा उक्त प्रतिशतले विभाजन गर्न लागिएको हो ।

समाचार

‘सिरियल किलर’ ठगुन्ना पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– शृंखलाबद्ध व्यक्ति हत्यामा संलग्न प्रकाशसिंह ठगुन्ना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ‘सिरियल किलर’ ठगुन्नालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याएको हो । महाशाखाका अनुसार अभियुक्त ठगुन्नामाथि व्यक्ति हत्याका कैयौं उजुरी छन् । उनीमाथि २०६४ मा काठमाडौं बत्तीसपुतली बस्ने मिश्रीमाया श्रेष्ठको हत्या अभियोग, २०६१ मा जबरजस्ती करणी गरेको मुद्दा ललितपुर जिल्ला अदालतमा चल्दै छ भने ०६४ असार १० गते गल्फकोर्समा शंकर अधिकारीलाई गोली हानेको अभियोग पनि छ । त्यस्तै, डाँकासम्बन्धी मुद्दाहरूमा पनि उनीबारे अनुसन्धान भइरहेको छ ।

समाचार

मृतकका परिवारलाई ६ करोड ७७ लाख क्षतिपूर्ति

- कान्तिपुर संवाददाता

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६ हजार दिराम (झन्डै ६ करोड ७७ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन् । आवुधावीस्थित नेपाली दूतावासका अनुसार मृतकका परिवारले पाएको क्षतिपूर्ति सम्बन्धितले पाउने गरी परराष्ट्र मन्त्रालय पठाइएको छ । परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिपूर्ति रकम वितरण गर्नेछ । क्षतिपूर्ति पाउनेमा पाँच वर्षअघि मृत्यु भएकासमेत रहेका छन् ।क्षतिपूर्ति पाउनेमा सडक र कार्यस्थल दुर्घटनामा मृत्यु भएका कामदारका परिवार बढी छन् । हृदयाघात वा सुतेको सुत्यै हुने कामदारले क्षतिपूर्ति पाएका छैनन् । कामदारको २४ घण्टे बिमा नहुँदा कार्यस्थलभन्दा बाहिर मृत्यु भएका कामदारका परिवार क्षतिपूर्तिबाट वञ्चित छन् । ‘९१ जनामध्ये १७ जना मृतकका परिवारले बिमाको रकम अझै पाएका छैनन् । उनीहरूको मुद्दा अदालतमा चलिरहेको छ,’ दूतावासका प्रवक्ता कृष्ण अर्यालले कान्तिपुरलाई भने, ‘केही क्षतिपूर्ति कम्पनीले सजिलै दूतावासलाई बुझाएका छन् । केही अदालतमा मुद्दा लडेर पाएको हो ।’ क्षतिपूर्ति दिलाउन दूतावासले १४ हजार दिराम (४ लाख २० हजार) कानुनी सेवाको खर्च गरेको छ । यो मृतकले पाउने क्षतिपूर्तिबाट दिइएको हो । २ लाख दिरामसम्म क्षतिपूर्ति पाउनेमा उत्तमकुमार राई, मुरली खड्का, सुशीलप्रसाद मैनाली, लोकबहादुर धामी, देवेन्द्र खड्का, मुनामाया थापा, आशाराम चौधरीलगायतका परिवार छन् ।तनहुँका पवन कुनार, स्याङ्जाका दुर्गा न्यौपाने, बर्दियाका राधेश्याम थारू, झापाका अनिल सुब्बा लिम्बू, मोरङका दिलीप चम्लागाईं, पाल्पाका माधव गैरे, पाल्पाकै तेजबहादुर दर्जी, इलामका प्रकाश गुरुङ, दाङका पुरणबहादुर मगर, मकवानपुरकी लक्ष्मीमाया श्रेष्ठ, नुवाकोटका वासुदेव लामिछाने, चितवनका कृष्णप्रसाद भुसाललगायत कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जानकारी अर्यालले दिए ।

समाचार

गाडीको ठक्करले मृत्यु

- कान्तिपुर संवाददाता

दमक– भारतीय पिकअप गाडीको ठक्करबाट बिहीबार बिहान कमल गाउँपालिका–५ का ४५ वर्षीय खेम चौलागार्इंको मृत्यु भएको छ ।
मर्निङ वाकमा हिँडेका चौलागार्इंलाई बिहान ४ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल–५ स्थित सावित्रा चोकमा एसके०१जे १७७० नम्बरको पिकअप गाडीले ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट गम्भीर घाइते बनेका चौलागाईंको उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पतालमा पुर्‍याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । ठक्कर दिएर फरार भएको पिकअपलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको डीएसपी गिरीले बताए ।

Page 3
Page 4
समाचार

आँखाका रोगी बढे

एक प्रकारको सेतो पुतलीका कारण लाग्ने सापु सरुवा रोग भने होइन
- फातिमा बानु
राजधानीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भेटिएका सापु प्रभावित बिरामी । तस्बिर सौजन्य : बीपी कोइराला नेत्ररोग अध्ययन केन्द्र

काठमाडौं– राति सुतिरहेका बेला बत्तीमा झ्याम्मिने सेतो पुतली गालामा खसेपछि पोखराका रोजन सुनारको आँखा एकैछिनमा रातो भयो । हल्का रातोबाट सुरु भएको समस्या सुनिने, हेर्नै नसक्ने भएपछि ४६ दिने शिशु रोजनलाई पोखरा आँखा अस्पताल पुर्‍याइयो । त्यहाँ उपचार हुन नसकेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को बीपी कोइराला नेत्र रोग अध्ययन केन्द्रमा ल्याइएको हो । परीक्षणबाट थाहा भयो, उनलाई सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) भएको रहेछ । सापु हालसम्म नेपालमा मात्र देखिने एक प्रकारको आँखा रोग हो । नेत्र रोग अध्ययन केन्द्रकी विशेषज्ञ रञ्जु खरेल सिटौलाका अनुसार सापु नेपालका केही पहाडी र हिमाली जिल्लामा मात्र देखिने एक प्रकारको नसर्ने रोग हो । यो एक प्रकारको सेतो पुतलीका कारण हुने भए पनि वास्तविक कारण अझै पत्ता लगाउन नसकिएको उनले बताइन् । नेपालमा यो रोगबारे विभिन्न अध्ययन, अनुसन्धान भइरहेको केन्द्रका निर्देशक डा. आनन्दकुमार शर्माले बताए ।नेपालबाहेक अन्य कुनै पनि देशमा यो रोग नदेखिएको विशेषज्ञहरू बताउँछन् । ४२ वर्षअघि यो रोग पोखरामा भेटिएको थियो । ‘सुरुमा यसलाई आँखा पाक्ने रोग भनेर चिनिन्थ्यो, पछि डा. मदन उपाध्यायले सापु नाम दिए,’ डा. खरेलले भनिन् । हरेक दुई वर्षमा पहाडी भेगका सेतो पुतलीले बालबालिकालाई बढी आक्रमण गर्ने गरेको डा. उपाध्यायले बताए । हालसम्म यो रोगबाट प्रभावित बिरामीमध्ये ६० प्रतिशत बालबालिका देखिएका छन् । ‘प्रारम्भिक अध्ययनबाट रोगका कारण सेतो पुतली हो भन्ने लागेको छ, प्रमाणित भने भइसकेको छैन,’ डा. उपाध्यायले भने, ‘आएका बिरामीसँग कुराकानी गर्दा सबैले सेतो पुतलीको सम्पर्क बताएका थिए, जाँच गर्दा आँखामा सेतो पुतलीका रौं पनि भेटियो ।’ हरेक दुई वर्षको अन्तरालमा वर्षायाम रोकिएपछि यो रोग लाग्ने मौसम सुरु हुन्छ । केन्द्रमा रोग लिएर आउने बिरामीको आउने क्रम बढ्न थालेको छ । यस वर्ष पनि १५ दिनदेखि यसका बिरामी भर्ना भएका छन् । हालसम्म १० बिरामी उपचारका लागि आएको केन्द्रले जनाएको छ । बिरामी अझै बढ्ने केन्द्रका चिकित्सकको अनुमान छ । कुल बिरामीमध्ये अधिकांश ५ वर्षमुनिका रहेको डा. खरेलले बताइन् । यसबारे मानिसमा चेतना नभएकाले अधिकांश बिरामी ढिलो गरी अस्पताल आउने गरेको उनले बताइन् । सापुले आँखामा हुने भित्री पत्रलाई असर गर्छ । पुतली सम्पर्कमा आएसँगै आँखामा पिप जम्दै जाने भएकाले आँखाको पर्दा च्यातिने गर्छ । ‘समयमा उपचार भएन भने यसले आँखालाई सुकाउँदै लैजान्छ,’ उनले भनिन्, ‘आँखाको बनोट त बिग्रन्छ नै, दृष्टि गुम्ने खतरा पनि उत्तिकै हुन्छ ।’आँखा रातो हुनु, भित्री भागमा पिप भरिनु, छोटो समयमा ज्योति कम हुँदै जानु, पाकेजस्तो देखिनु सापुका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ जतिसक्दो चाँडो नजिकको आँखा अस्पताल वा उपचार केन्द्रमा पुग्नुपर्ने विशेषज्ञहरूले सुझाएका छन् ।

समाचार

राष्ट्रपतिद्वारा नवदुर्गामा पूजाअर्चना

- कान्तिपुर संवाददाता
भक्तपुर नगरपालिका क्वाठडौंस्थित प्रसिद्ध नवदुर्गा मन्दिर परिसरमा महाधुप, तलेजु भवानी र एकान्त कुमारीको प्रसाद ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

भक्तपुर– राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना गरेकी छन् । बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखका हैसियतमा भण्डारीले पूजा गरी प्रसाद ग्रहण गरेकी हुन् । प्रत्येक वर्ष बडादसैंको अन्तिम दिन राष्ट्रप्रमुखले पूजा गरी प्रसाद लिने प्रचलन छ । प्रसाद ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले नवदुर्गाका पुजारी, नाइके तथा देवगणलाई जनही पाँच सय पाँचका दरले दक्षिणा प्रदान गरेकी थिइन् । नवदुर्गा देवगणहरूले भने आफूहरूको अवस्था ज्यादै नाजुक भएको र जात्रा पर्व चलाउन कठिन भएको भन्दै सरकारले उचित रकमको व्यवस्था गर्नुपर्ने राष्ट्रपतिसमक्ष माग गरेका छन् । देवगणको गुनासोपछि राष्ट्रपतिले समस्याको विवरण लिई शीतलनिवास आउन आग्रह गरेको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाले बताए ।आठ वर्षको बालकदेखि जीवनभर संस्कृति बचाउमा लागेका वनमाला समुदायलाई सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै देवगणले संस्कृति बचाउन धौधौ परेको गुनासो गरेका छन् । नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षमा करिब १७ लाख खर्च हुने तर कतैबाट सहयोग नपाउँदा जात्रा संकटमा परेको वनमालाले बताए । ०४६ अघि तलेजु भवानीका मूल पुजारीले तलेजु, नवदुर्गा र जीवित देवी एकान्त कुमारीको प्रसाद राष्ट्रप्रमुखसमक्ष पठाउने चलन थियो । ०४६ को राजनीतिक परिर्वतनपछि राष्ट्रप्रमुखका रूपमा राजाले पूजाअर्चना गरी प्रसाद ग्रहण गर्ने गरेको तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले बताए । गणतन्त्र स्थापनापछि नवदुर्गा भवानीको पूजाअर्चना तथा प्रसाद ग्रहण राष्ट्रपतिले गर्दै आएका छन् ।

समाचार

बुट्टा भरेर आम्दानी

- प्रकाश बराल

बागलुङ– दैनिक १०/१५ महिलालाई सीप सिकाउने र अर्डरअनुसार लुगामा सितारा भर्ने दैनिकीबाट बानपा ३ की यमुना थापाले राम्रै आम्दानी गर्न थालेकी छन् । उनले यो पेसा सुरु गरेको ५ वर्ष भयो । पच्छ्यौरा, ब्लाउज, कुर्तालगायत कपडामा उनले सितारा भर्ने काम गर्छिन् । उनीसँग यस्तो सीप सिकेकाहरू अधिकांशले घरै बसेर काम गरी आयआर्जन गरिरहेका छन् । केही महिला प्रशिक्षक बनेर गाउँगाउँ पुग्न थाले । ‘फुर्सदको समयलाई उपयोग गरेर पनि राम्रै आम्दानी भएको छ,’ उनले भनिन्, ‘दिउँसोमात्रै काम गर्दा पनि एउटा पच्छ्यौरा बनाउन दुई दिन लाग्छ ।’ लुगामा सितारा भरेर बेच्दा घर खर्च राम्रैगरी जुटेको उनले बताइन् । ‘आफ्नै पेसा गरिखाँदा पनि यसले समाजमा चिनिने मौका मिल्दो रहेछ,’ उनले भनिन्, ‘बदलिएको फेसनको जमानामा महिलाले घरै बसेर गर्ने कामलाई चिन्दा पनि आयआर्जन राम्रो हुन्छ ।’ सुरुसुरुमा उनलाई यो काम कति लामो समयसम्म गरिएला भन्ने लाग्थ्यो । दुई वर्षयता दुइटा सटर लिएर व्यापार विस्तार गरेकी छन् । ‘घर खर्च र आफ्ना लागि श्रीमानका अगाडि हात फैलाउन परेन भने महिलामा आत्मविश्वास त्यसै बढ्ने रहेछ,’ उनले भनिन्, ‘घरव्यवहार धानेर आफूले सिकेको सीपअनुसार पेसा गर्न परिवारको पनि साथ हुँदा आत्मविश्वास दोब्बर हुन्छ ।’आफ्नो कमाइले बचत गर्न पनि सफल भएको उनले बताइन् । उनीकहाँ महिला बुटिक र हाते कढाइ भर्ने सिक्न प्रशस्त आउँछन् । ‘महिलाले प्राय: बुट्टा भरेका लुगा मन पराउँछन्,’ उनले भनिन्, ‘चाडपर्व, विवाहको समय व्यापार बढ्छ ।’ तीन सय रुपैयाँको पच्छ्यौरामा दुई दिन लगाएर सितारा भरेपछि १५ सयदेखि २ हजारसम्ममा बिक्री हुने गरेको छ । लघुउद्यमी समूह संघले तालिम दिएपछि आफ्नै व्यवसाय थालेका थापासहित सदरमुकाममा दर्जनभन्दा बढी छन् । विभिन्न समयमा हुने तालिममका क्रममा चलनचल्तीका लुगाका डिजाइनबारे बुझेर उनले त्यस्तै काम गर्छिन् । ‘सुरुमा अर्डर गर्न आउनेसँग पनि डराउँथे, अहिले व्यवसायको प्रचार गर्न ठाउँठाउँ पुग्न सक्ने भएँ,’ उनले भनिन्, ‘सानो कामबाट पनि राम्रो कमाइ र इज्जत कमाउन सकिने बाटो बल्ल फेला पर्‍यो ।’ छिमेकका महिलाले पनि उनको कमाइ देखेर सीप सिक्न थालेका छन् । रहर गर्नेलाई उनले समय मिलाएर सीप सिकाउँछिन् । ‘घरभित्रै बसेरभन्दा काम सिकेर दुई/चार रुपैयाँ कमाउन सकिने देखेर आएका हौं,’ रायडाँडाकी पार्वती थापाले भनिन्, ‘सबैले बुटिक र कडाइ भरेका कपडा लगाउन खोज्ने भएकाले आम्दानी पनि गर्न सकिने आशा गरेका छौं ।’ श्रीमानको आसमात्र गरिरहनुभन्दा घर खर्चमा सघाउन पाइने विश्वास लिएको उनले बताइन् ।

समाचार

फ्रिज बिग्रेपछि सुई राख्न समस्या

- विद्या राई
रोल्पा सदरमुकाममा सीएमएद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागी । तस्बिर : काशीराम डाँगी/कान्तिपुर

हतुवागढी (भोजपुर)– रानीवासकी १० वर्षीय मालती राईलाई छिमेकीको कुकुरले टोक्यो । अन्य ५ जना पनि त्यही कुकुरको आक्रमणमा परी एकैपटक घाइते भए । कुकुरधनीले सबैलाई घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्‍याए । उनीहरूलाई रेबिज सुई लगाउनुपर्ने भयो ।सुई नपाएपछि गाडी रिजर्भ गरेर उनीहरूलाई ४८ किमि टाढा सदरमुकामस्थित भोजपुर अस्पताल पुर्‍याइयो । सुरुमा सबैलाई एकैचोटि सुई लगाइयो । त्यसपछि ३, ७, १४ र २८ दिनको फरकमा लगाउनुपर्ने हुन्छ । उनीहरूलाई सदरमुकाममै राख्दा होटल खर्च अधिक हुन्थ्यो । पटक–पटक गाडी रिजर्भ गर्न झनै समस्या थियो ।अन्तमा कुकुरधनीले पटकैपिच्छे सदरमुकाम धाएर फ्रिजबाट घोडेटारसम्म सुई ल्याए । स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले सुई हानिदिए । उपचार त सफल भयो । हजारांै खर्च थपियो । यदि घोडेटारमै सुई सेवा हुन्थ्यो भने त्यति ठूलो खर्च र सदरमुकामसम्म पुर्‍याउन पर्दैन थियो ।जिल्लाको दक्षिणी बेल्टकै एकमात्र स्वास्थ्य केन्द्रमा अत्याधुनिक प्रविधिको सुविधा नहुँदा अत्यावश्यक सुई सेवा अभाव छ । सुई एकदमै संवेदनशील भएकाले फ्रिजमा तापक्रम सन्तुलन गरेर राख्नुपर्ने हुन्छ । स्वास्थ्य केन्द्रको फ्रिजसमेत बिग्रेर काम गर्न छाडेपछि ८ महिनायता सुई सेवा प्रवाहमा समस्या आएको डा. आशिष श्रेष्ठले बताए । विद्युत् सुविधा नहुँदा उक्त फ्रिज मट्टितेलबाट चलाइएको थियो । धेरै वर्ष पुरानो तथा मेसिनमा गडबडी आएपछि तापक्रम असन्तुलन भएर फ्रिजले काम गर्न छाडेको हो ।‘फ्रिजले काम नगर्दा सुई ‘स्टक’ राख्न सकिएको छैन, तत्कालै लगाउनुपर्ने बिरामी आउँदा साह्रै समस्या छ,’ उनले भने, ‘खिया लागेको फलामले चोट लाग्दा तथा कुकुरले टोक्दा तत्कालै लगाउनलाई सुई पाइन्न ।’ यसकारण बिरामीहरू हजारौं खर्चेर सदरमुकाम तथा तराईका सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने बाध्यता छ । ८ वर्षयता धनकुटा हुँदै सडक सञ्जालमा जोडिएको भए पनि कच्ची भएका कारण यातायात महिनौं ठप्प हुँदा बिरामी थप प्रभावित छन् । गाउँका विपन्न वर्गका बिरामीले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाउने गरेका छन् ।

बीसीजी, डीपीटी, दादुरा, पोलियो, जापानिज इन्सेफलाइटिस, टीटी (धनुष्टंकार), रेबिज सुई तथा ल्याबका ‘केमिकल’ जुनसुकै बेला आवश्यक पर्छन् । जति आवश्यक छन्, लामो समयसम्म स्टक राख्न तथा प्रयोगमा ल्याउन उति नै जटिल छ । खोपका सुई ल्याएको भोलिपल्टै गाउँमा लगेर वितरण गरिन्छन् ।तर टीटी, रेबिज र ल्याबका ‘केमिकल’ लाई लामो समयसम्म टिकाएर राख्ने व्यवस्था छैन । बिग्रन नदिन फ्रिज अनिवार्य हुन्छ । काम गर्नै छाडेपछि स्टोर गरेर राख्न असम्भव छ ।सुई नपाउँदा साविकका रानीबास, होम्ताङ, खैराङ, सिन्द्राङ, हसनपुर, पात्लेपानी, पाँचा, पावला, दुम्माना, बालंखालगायत १४ गाविसका बिरामीको उपचार जोखिमपूर्ण छ । जिल्ला स्वास्थ्यमा फ्रिजको समस्याबारे पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन । घोडेटारबजार हतुवागढी, आमचोक, पौवादुङ्मा र रामप्रसाद राई गाउँपालिकामा पर्ने साविकका डेढ दर्जन गाविसको मुख्य व्यापारिक तथा प्रशासनिक केन्द्र मानिए पनि दिगो विकासमा ध्यान नदिँदा यहाँको स्वास्थ्य सेवामा गम्भीर असर परेको स्थानीय तथा स्वास्थ्यकर्मीको गुनासो छ । स्रोतसाधन नहुँदा स्वास्थ्य सेवा प्रवाह चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीले बताए ।

समाचार

सरकारी नीतिको विरोध

- कान्तिपुर संवाददाता

रोल्पा (कास)– बिरामी जाँच्न पाउनुपर्ने माग गर्दै जिल्लाका सीएमएहरूले सरकारले ल्याएको नयाँ नीति आफूहरूविरुद्ध भएकाले सच्याउन ध्यानाकर्षण गराएका छन् । विभिन्न सरोकारवालाहसँग अन्तक्र्रिया गर्दै सीएमएहरूले गाउँका बिरामीलाई सेवा पुर्‍याएको प्रति अवमूल्यांकन गरिएकोमा खेद व्यक्त गरेका हुन् । लिबाङमा बिहीबार भएको अन्तक्र्रियामा सरोकारवालाले समेत सीएमएहरूले राखेको माग जायज रहेको दाबी गरेका छन् । जनप्रतिनिधिले समेत गाउँमा सीएमएले स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रवाह गरेकोप्रति सरकारले उचित मूल्यांकन नगरेको बताए । रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले दुर्गम क्षेत्रमा निम्न तहका स्वास्थ्यकर्मीले सर्वसाधारणलाई स्वास्थ्य सेवा पुर्‍याएको जानकारी गराए । ‘सीएमएहरूले जनताको स्वास्थ्यमा राम्रो योगदान गरेका छन्,’ उनले भने, ‘उनीहरूको उक्त अभियानप्रति जनप्रतिनिधि एवं दलका नेताहरूले साथ दिनुपर्छ ।’
सरकारले स्थानीय तह गठनसँगै सञ्चालन प्रक्रियामा सीएमएले बिरामी जाँच्न, औषधि वितरण गर्न तथा रोग पहिचान गर्न रोक लगाउने नीति अघि सारेको भन्दै मुलुकभर विरोध गरिएको छ । सीएमए संघ जिल्ला अध्यक्ष डिल्ली आचार्यले सीपअनुसार काम गर्न सरकारले स्वास्थ्यकर्मीमाथि रोक लगाउन नहुने तर्क गरे । खर्च गरेर सीएमए पढेर स्वास्थ्य क्षेत्रमा सहयोग गर्न गाउँगाउँ खटिएकाविरुद्ध सरकारले ल्याएको नीति नसच्याएसम्म आन्दोलन नरोकिने उनको भनाइ थियो ।उनका अनुसार सरकारले उक्त नीति ल्याएपछि दुर्गम गाउँमा रहेका औषधि पसल बन्दसमेत गरिएको छ । ‘कतिपय सीएमएले सञ्चालन गरेको औषधि पसल बन्द गराएर औषधिसमेत जफत गरिएको छ,’ सीएमए संघका अध्यक्ष आचार्यले भने, ‘त्यसैका विरुद्धमा हामी आन्दोलित भएका हौं ।’ जिल्लामा हाल करिब १ सय सीएमए क्रियाशील छन् । संघ आवद्धमध्ये अधिकांशले गाउँमा औषधि पसल सञ्चालन र बिरामी जाँच्नुका साथै रोग पहिचानसमेत गर्दै आएका छन् । सरकारले दुर्गम गाउँमा विशेषज्ञ चिकित्सक व्यवस्था गर्न नसकेकाले ती ठाउँमा सीएमएहरूले नै बिरामीलाई सेवा प्रदान गरिरहेकाले सरकारको नीति लागू भए गाउँलेमाथि अन्याय हुने उनले दाबी गरेका छन् ।

समाचार

सडक सञ्चालन भएन

- कान्तिपुर संवाददाता

दार्चुला (कास)– वर्षात्मा अवरुद्ध जिल्लाका ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । जिल्लाका करिब आधा दर्जन सडक सञ्चालन नहुँदा स्थानीयले आवतजावतमा समस्या खेप्नुपरेको छ ।गोकुलेश्वर–देथला–दल्लेख, लटिनाथ–पारिबगड, बङ्गाबगड–दल्लेख, तिंकर सडकको खलंगा–गरमोरा र गोकुलेश्वर–लटिनाथ सडक बेलाबेला अवरुद्ध हुने गरेका छन् । यी सबै कच्ची भएकाले वर्षात्मा सधैं अवरुद्ध हुने र सुख्खायाममा मात्र चल्ने गर्छन् । सदरमुकाम जोड्ने योजनाअन्तर्गतका अधिकांश ग्रामीण सडक निर्माणाधीन छन् । अपीहिमाल, व्यास र लेकम गाउँपालिका अझै सडक सञ्जालमा जोडिएका छैनन् । जिल्लाको मुख्य मोटरमार्ग महाकाली लोकमार्ग पनि पहिरोका कारण समय–समयमा अवरुद्ध हुने गरेको छ । सडक सञ्जालमा जोडिएका स्थानीय तहमा पनि विभिन्न समयमा अवरुद्ध हुँदा समस्या रहेको यातायात व्यवसायीले बताए ।

समाचार

ज्येष्ठ नागरिक सम्मान

छोटकरी

लमजुङ (कास)– दोर्दी गाउँपालिका दुवारगाउँका ज्येष्ठ नागरिकलाई बिहीबार सम्मान गरिएको छ । कार्यक्रममा ८४ वर्षमाथिका ७ वृद्ध र २ वृद्धालाई क्रिष्टा टीद्वारा सञ्चालित लमजुङ टीका सञ्चालक ओमलाल गुरुङले सम्मान गरेका हुन् ।

समाचार

बसको ठक्करले मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

बागलुङ (कास)– निसिखोलाबाट बुर्तिबाङ आइरहेको ना४ख ९२०९ नम्बरको बसले ढोरपाटन–२ पाखुटेमा बिहीबार ठक्कर दिँदा घाइते एक वृद्धाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको छ । निसिखोला–१ हर्पेकी ७० वर्षीया सुनमती कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार

सालिक झिकियो

छोटकरी
- कान्तिपुर संवाददाता

पोखरा (कास)– सडक विस्तारका लागि महानगरको अमरसिंह चोकस्थित अमरसिंहको सालिक बिहीबार झिकिएको छ । टोल सुधार समिति अध्यक्ष रहिमुल्ला मियाँको नेतृत्वमा झिकिएको सालिक सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

समाचार

वाल्मीकि जयन्ती मनाइयो

छोटकरी
- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– रामायण रचयिता आदि महाकवि महर्षि वाल्मीकि जन्मजयन्ती मनाइएको छ । भारद्वाज संस्कृति संवद्र्धन केन्द्र, हनुमानघाट सामाजिक सेवा समिति र उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा विज्ञहरूले वाल्मीकिले रामायण लेखनको अन्त्य भक्तपुरको हनुमानघाटमा भएको दाबी गरेका छन् । यसअघि वाल्मीकिले नवलपरासी र चितवनको समसार नदीमा बसेर रामायण लेखेको भनिए पनि रामायण लेखन अन्त्य भक्तपुरको हनुमानघाटमा गरेको संस्कृति तथा इतिहासविदको भनाइ छ । कार्यक्रममा इतिहासकार प्राज्ञ ज्ञानमणि नेपालले भक्तपुरको हनुमान घाटमा रहेको वाल्मिकेश्वर महादेव क्षेत्रको अध्ययन अनुसन्धान गरी वाल्मिकीको यथार्थ तथ्यलाई सार्वजनिक गर्नुपर्ने बताए । इतिहासविद् प्रा. पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक, पौराणिक, इतिहासलाई एकीकृत गरी यसबारे अध्ययन, अनुसन्धान गर्नुपर्ने औंल्याए । श्रेष्ठले वाल्मीकि रामभक्त हनुमानको सहयोगमा ३५ सय वर्षघि भक्तपुरको हनुमानघाट आएको प्रमाण रहेको दाबी गरे ।कार्यक्रममा संस्कृतिकर्मी एवं इतिहासविद् सुरेन्द्र केसी, प्रा. ऋषिराज पोखरेल, प्रा. विष्णुराज आत्रेय, प्रा. शास्त्रदत्त पन्त, ओम धौभडेल, चैतन्यराज देवकोटा, रामबहादुर प्रजापतिलगायतले विश्वका आदि महाकवि महर्षि वाल्मीकिले रामायण लेखन पूरा गरेको हनुमान घाटस्थल एवं वाल्मिकेश्वर महादेव मन्दिर स्थापना गरेको बताए ।

Page 5
देश

सिफारिसको चाङ बोकेर राजधानी

कास्कीमा कांग्रेसका १ सय ६० आकांक्षी
गुल्मीमा एमालेका प्रतिनिधिसभा उम्मेदवार सर्वसम्मत
- पोखरा ब्युरो

पोखरा– प्रदेश र संघका उम्मेदवारको सूची बोकेर कास्कीका राजनीतिक दलका प्रमुख राजधानी पसेका छन् । कांग्रेस जिल्ला सभापति कृष्ण केसी, माओवादी केन्द्र जिल्ला इन्चार्ज राजकाजी गुरुङ र नयाँ शक्ति जिल्ला संयोजक हेमबहादुर थापा यतिखेर राजधानीमै छन् । कास्कीमा ३ संघीय संसद् र ६ प्रदेश निर्वाचन क्षेत्र छन् । दुवै तहमा प्रत्यक्ष र समानुपातिकतर्फ कास्की कांग्रेसले १ सय ६० आकांक्षीको नाम केन्द्र पठाएको छ । एमालेले क्षेत्र नम्बर १ र २ मा संघीय संसद्का उम्मेदवारको नाम सर्वसम्मतिले चयन गरेको छ । पार्टीले अन्य पदमा ३/३ जनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले प्रत्येक पदमा एक महिलासहित २/२ जनाको नाम सिफारिस गरेको छ । नयाँ शक्तिले संघीय संसद्का उम्मेदवारमा सर्वसम्मति जुटाए पनि प्रदेश निर्वाचनका लागि एकभन्दा बढी व्यक्ति सिफारिस गरेको छ । १ नम्बर क्षेत्रमा कांग्रेसका ७ आकांक्षी भए पनि वर्तमान कानुनमन्त्री यज्ञबहादुर थापा, पूर्वसभामुख तारानाथ रानाभाट वा जीवन परियारले टिकट पाउने सम्भावना बढी रहेको पार्टी जिल्ला सचिव सुदीपमोहन भट्टराई बताउँछन् । प्रदेशअन्तर्गत १ (क) मा मात्रै कांग्रेसबाट २३ आकांक्षी छन् । १ (ख) मा ५ आकांक्षीको नाम पठाइएको छ । २ नम्बर क्षेत्रका संघीय संसद्मा कांग्रेसका ६ आकांक्षीको नाम केन्द्र पुगेको छ । २ (क) मा ६ जना र २ (ख) मा १० आकांक्षी छन् । ३ नम्बर क्षेत्रमा कांग्रेसबाट आठ जना संघीय संसदका आकांक्षी देखिएका छन् । प्रदेश निर्वाचनका लागि ३ (ख) बाट उम्मेदवार बन्न १० आकांक्षीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ संघ र प्रदेशमा ७७ जनाको नाम कास्की कांग्रेसले केन्द्रमा बुझाएको छ ।एमालेले क्षेत्र नम्बर १ बाट खगराज अधिकारीलाई संघीय संसद्को उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ । पूर्वस्वास्थ्यमन्त्री अधिकारी यसअघि दुईपटक उक्त निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । १ (क) बाट टीकाराम पंगेनी, दिलीप न्यौपाने र सरिता कुमाल मतदानबाट सिफारिसमा परेका छन् । १ (ख) बाट मनबहादुर गुरुङ र वसन्त बरालको नाम एमालेले टुंग्याएको छ । १ महिला उम्मेदवारको नाम सिफारिस गर्न बाँकी छ ।
क्षेत्र नम्बर २ मा संसदीय विकास समिति सभापति रवीन्द्र अधिकारी संघीय संसद्मा सर्वसम्मत सिफारिसमा परेका छन् । २ (क) बाट एमाले जिल्ला अध्यक्ष कृष्ण थापा, व्यवसायी धनराज आचार्य र हीराकुमारी गिरि, २ (ख) बाट दानबहादुर बानियाँ, सञ्जीव कोइराला र प्रभा कोइरालाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ मा एमालेले मतदानबाट संघीय संसद्का लागि ३ जनाको नाम सिफारिस गरेको छ । मंगलबार भएको भेलाबाट ४ आकांक्षीमध्ये जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला र उमा कोइराला सिफारिसमा परेका हुन् । बहालवाला सांसद सीता गिरि भने मतदानबाट पराजित भइन् । उनले ४ जनाबीच नै मतदान गर्नुपर्नेमा २ महिलाबीच मात्रै प्रतिस्पर्धा गराइएको भन्दै विरोध जनाएकी थिइन् । एमालेले ३ (क) बाट नारायण बाँस्तोला, दलबहादुर गुरुङ र सरस्वती अधिकारी, ३ (ख) बाट युवा संघ अध्यक्ष राजीव पहारी, दामोदर वैरागी र देवका पहारीको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्रले नेता देव गुरुङलाई क्षेत्र नम्बर १ बाट संघीय संसद्को उम्मेदवार सिफारिस गरेको छ । केन्द्रीय समितिले १ महिलाको नाम अनिवार्य सिफारिस गर्न सर्कुलर गरेपछि १ मै निर्मला सुवेदीको नाम पनि सिफारिसमा परेको छ । २ नम्बर क्षेत्रबाट राजकाजी गुरुङ र तेजकुमारी पौडेल सिफारिसमा परेका छन् । ३ नम्बर क्षेत्रबाट रामजी बराल र दुर्गा विकको नाम केन्द्रमा पुगेको छ । माओवादी केन्द्र कास्कीले १ (क) बाट दीपक कोइराला र नन्दश्री गुरुङ, १ (ख) बाट झलकपाणि तिवारी र विमला पहारी, २ (क) बाट गंगा पोखरेल र कमला रानाभाट, २ (ख) बाट रामप्रसाद पौडेल र कृष्णकुमारी गुरुङ, ३ (क) बाट राजु तिमिल्सिना र सुमिता बस्नेत, ३ (ख) बाट दुर्गा भण्डारी र गोमा ढकालको नाम प्रदेश निर्वाचनमा सिफारिस गरेको छ । समानुपातिकतर्फ बखानसिंह गुरुङ, गायत्री गुरुङ, कोमलनाथ बराल, विश्वेश्वर अधिकारी, पूर्णकुमारी राना, सोमति गुरुङ, भीमबहादुर विकलगायत सिफारिसमा परेका छन् । नयाँ शक्तिले क्षेत्र नम्बर १ बाट क्याप्टेन मदन केसीलाई सिफारिस गरेको छ । सगरमाथा आरोहीको उद्धार गरेर चर्चामा आएका केसी हालै नयाँ शक्तिमा प्रवेश गरेका थिए । क्षेत्र नम्बर २ बाट जिल्ला संयोजक हेमबहादुर थापा र ३ बाट देवी सुवेदी नयाँ शक्तिबाट सर्वसम्मत उम्मेदवार बनेका छन् । संयोजक थापाले सबै नाम केन्द्रमा बुझाए पनि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको कार्यगत एकता भएको सन्दर्भमा फरक परिवेश सिर्जना हुने बताए ।


स्थानीय तहमा पराजितलाई मौका

स्याङ्जामा कांग्रेस र माओवादीले उम्मेदवार आकांक्षीको नामावली पार्टी केन्द्रमा पठाएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि १ नम्बर क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, सांसद राजु थापा र धनराज गुरुङको नाम सिफारिस भएको छ । थापा संविधानसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फका विजयी हुन् । २ नम्बर क्षेत्रमा सांसद कमलप्रसाद पंगनी, उद्योगी खुमाप्रसाद अर्याल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ र वालिङ नगरका पूर्वमेयर भोजराज अर्याललगायतको नाम सिफारिसमा परेको छ । क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा भरतप्रसाद लम्साल, देवी अर्याल र मेखलाल श्रेष्ठको नाम सिफारिस भएको छ । लम्साल स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुन् । यस्तै ‘ख’ मा प्रेमराज पौडेल, तुलसी गिरि र कुमार रानाको नाम सिफारिस भएको छ । राना जिल्ला सचिव, पौडेल कोषाध्यक्ष र गिरि अधिवक्ता हुन् । क्षेत्र २ को ‘क’ मा खगेन्द्रराज रेग्मी, सरस्वती तिवारी र विष्णु पौडेलको नाम छ भने ‘ख’ मा भगवतप्रकाश मल्ल, गुरु भट्टराई र युवराज पाण्डे छन् । मल्ल तरुण दलका जिल्ला अध्यक्ष पनि हुन् ।

सिफारिसमा पर्नेमा स्थानीय तह निर्वाचनमा नगर, गाउँ तथा वडाध्यक्ष र सदस्यमा पराजित केही नेतासमेत छन् । उम्मेदवार छनोटको मापदण्ड बनाउन नसक्दा सामान्य कार्यकर्तादेखि लामो समयदेखि पार्टीमा संघर्ष गरिरहेकासम्म एकमुष्ट सिफारिसमा परेका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि क्षेत्र १ मा प्रत्यक्षतर्फ शैलेन्द्र घिमिरे, अमृता थापामगर र भुवानीप्रसाद ढकालको नाम सिफारिस गरेको छ । घिमिरे जिल्ला इन्चार्ज, थापामगर पूर्वसांसद र ढकाल पूर्वप्रधानाध्यापक हुन् । क्षेत्र नं. २ का लागि प्रत्यक्षतर्फ सूर्यप्रसाद गैह्रे र प्रकाश न्यौपानेको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ को प्रदेश ‘क’ मा परशुराम भण्डारी, मेखबहादुर थापा र मुरारी लम्साल, ‘ख’ मा शिव पराजुली, हुमबहादुर कुमाल र लोकप्रसाद काफ्लेको नाम परेको छ । क्षेत्र २ को ‘क’ मा नित्यानन्द तिवारी, तेज सुवेदी र दयानिधि पौडेल, ‘ख’ मा नारायण अधिकारी, पदम विक र शिव पंगेनी सिफारिस भएका छन् । माओवादीले समानुपातिकमा संघतर्फ दीपक चर्तीमगर, खिमबहादुर विक, गिरधारी कोइराला र धु्रवराज लम्साल छन् भने प्रदेशतर्फ कल्पना अर्याल, रनबहादुर तमु, खिमा पाण्डे, चन्द्रबहादुर थापा, संघ ताम्राकार, ईश्वरी सिग्देल अर्याल, तिलबहादुर गुरुङ र हुसेन अलीको नाम सिफारिस गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ । एमालेले भने नाम छनोट गरिसकेको छैन । शुक्रबारभित्र सबै नामावली केन्द्रमा सिफारिस गर्ने बताइए पनि धेरै आकांक्षी भएपछि सहमति जुट्न ढिलाइ भएको स्रोतले जनाएको छ ।


एमालेमा सर्वसम्मत

गुल्मीमा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटै क्षेत्रमा केन्द्रीय सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टको नाम सर्वसम्मतिले सिफारिस गरेको छ । एमालेको दुवै निर्वाचन क्षेत्रमा बुधबार भएका बैठकले क्षेत्र १ बाट ज्ञवाली र २ बाट विष्टलाई सर्वसम्मत सिफारिस गरेका हुन् । यस्तै रुरु, छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुंगा नगरपालिका रहेको प्रदेश सभाको निर्वाचनका लागि पूर्वसांसद कमलराज श्रेष्ठलाई पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।एमाले सचिव सोमनाथ सापकोटाका अनुसार प्रतिनिधिसभाका लागि दुवै नेता क्षेत्रीयस्तरबाट सर्वसम्मत सिफारिस भएकाले जिल्लाले पनि सर्वसम्मत रूपमै सिफारिस गर्नेछ । प्रदेशका अन्य तीन स्थानमा पनि सर्वसम्मति प्रयास जारी छ । केन्द्रमा भएको एमाले–माओवादी गठबन्धनअनुसार दुईवटा प्रदेशमा माओवादीबाट उम्मेदवार बन्ने सम्भावना छ । चन्द्रकोट, कालीगण्डकी र सत्यवतीसहितको प्रदेश तथा धुर्कोट, मदाने र मालिकासहितको प्रदेशमा माओवादी उम्मेदवारले टिकट पाउने धेरैको अनुमान छ । कांग्रेस जिल्ला कार्यसमितिले भने क्षेत्र १ बाट चन्द्र भण्डारी र कृष्णबहादुर छन्तेलको नाम सिफारिस गरेको छ । भण्डारी यसअघिको क्षेत्र २ र छन्तेल १ बाट निर्वाचित हुन् । क्षेत्र २ मा पनि चन्द्रबहादुर केसी, रुद्रमणि शर्मा भण्डारी र शालिकराम पन्थीको नाम सिफारिस भएको छ । प्रदेश सभामा भने आकांक्षी धेरै भएकाले समस्या देखिएको छ । क्षेत्र १ को प्रदेश सभाका लागि कांग्रेसबाट चन्द्रकोटसहित एक दर्जन र रुरु सहितकोमा आधा दर्जनको नाम सिफारिस भएको छ । क्षेत्र २ का रेसुंगा नगरपालिकासहितको प्रदेशमा तीन जना र धुर्कोटसहितको प्रदेशमा पनि तीन जनाको नाम सिफारिस गरेको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।


पूर्वमन्त्री र पार्टी सभापतिलाई कारबाही

कांग्रेसले उम्मेदवार सिफारिसमा पारेका पूर्वउद्योग राज्यमन्त्री सुवर्ण ज्वारचन र पूर्वसभापति चन्द्रबहादुर केसीले ‘पदीय दायित्व पूरा नगरेको’ भन्दै केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । केसी प्रतिनिधिसभाका लागि क्षेत्र २ बाट र ज्वारचन समानुपातिक सूचीमा सिफारिसमा परेका छन् । पार्टीको बुधबार दिनभर चलेको जिल्ला समिति बैठकमा दुवै नेताबारे बहस भएको थियो । ‘दिनभरको बहसपछि कारबाही गर्ने निर्णय भएको हो,’ एक जिल्ला सदस्यले भने, ‘दुवैले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको पार्टीको ठहर छ ।’सभापति श्रेष्ठले लामो बहस र छलफलपछि उम्मेदवारको सिफारिससँगै केसीको हकमा पदीय दायित्व पूरा नगरेको र ज्वारचनको हकमा पार्टीको सल्लाह सुझावमा अटेर गरेकाले केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।

देश

केन्द्र धाउँदै नेता–कार्यकर्ता

- सुदूरपश्चिम ब्युरो

महेन्द्रनगर– कांग्रेस बैतडीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको सूची केन्द्र पठाएसँगै आकांक्षीहरू राजधानी धाउन थालेका छन् । दसैंलगत्तै सबैजसो उम्मेदवार आकांक्षी कार्यकर्तासहित राजधानी गएका हुन् ।क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले सर्वसम्मत उम्मेदवार छान्न नसकेपछि आएजति सबै नाम नाम केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सभामा २ र प्रतिनिधिसभाको १ क्षेत्र रहेको बैतडीमा ३ पदमा २८ आकांक्षी छन् । प्रतिनिधिसभाका लागि चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्टले दाबी गरेका छन् । समानुपातिक खुलामा ४ र समानुपातिक समावेशीमा ४ आकांक्षी छन् । प्रदेश सभा निर्वाचनमा क्षेत्र नं. १ बाट ९ जना आकांक्षी छन् । हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, विष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्रबहादुर बम, जनकबहादुर चन्द, कपेन्द्र केसी र दीपेन्द्रबहादुर चन्द आकांक्षी छन् । समानुपातिक खुलामा १२ जना र समावेशीमा ५ जना आकांक्षी छन् । क्षेत्र नं. २ मा १४ जना आकांक्षी देखिएका छन् । देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, दमनबहादुर चन्द, तेजबहादुर चन्द, जनकराज भट्ट, गजेन्द्रबहादुर चन्द, ईश्वरदत्त भट्ट, जनक भट्ट, प्रेमबहादुर चन्द, रमेशसिंह भण्डारी, शिवराज भट्ट, हर्कबहादुर चन्द र सुरेन्द्रबहादुर चन्दको नाम पठाइएको छ । समानुपातिक खुलामा ५ र समावेशीमा ८ जना आकांक्षी छन् । क्षेत्रीय र जिल्ला समितिमा उम्मेदवारको टुंगो नलाग्दा सबै नाम केन्द्र पठाएको कांग्रेस जिल्ला सचिव वीरबहादुर विष्टले बताए । माओवादी केन्द्रले असोज पहिलो साता नै उम्मेदवार तय गरिसकेको छ । केन्द्रले पूर्वसभासद नरेन्द्रबहादुर कुँवरलाई प्रतिनिधिसभा सदस्य तथा क्षेत्र नं. १ बाट प्रेमप्रकाश भट्ट र २ बाट गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


मतदानबाट सिफारिस

एक साता लामो छलफलमा सहमति नजुटेपछि एमाले बझाङले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको छ । प्रदेश सभा सदस्यको उम्मेदवारमा सहमति नजुटेपछि क्षेत्र नं. १ का लागि मतदान भएको थियो । क्षेत्र नं. २ मा भने सहमतिमै सिफारिस गरिएको छ । १ नम्बरमा धेरै आकांक्षीका बीच सहमति नजुटेपछि पार्टीले आन्तरिक रूपमा लोकतान्त्रिक प्रक्रियाको अभ्यास गरेको एमाले जिल्ला कमिटी सदस्य सुरतबहादुर सिंहले बताए । उनले उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याउने दुई जना दिलबहादुर सिंह र अर्जुन थापाको नाम प्रदेश कमिटीमा सिफारिस गरिने जानकारी दिए । क्षेत्र नं. २ बाट वीरेन्द्र भण्डारी, दिलबहादुर भण्डारी र प्रकाश रोकायाको नाम सिफारिस गर्ने तयारी भइरहेको छ । सिंगो जिल्ला एक क्षेत्र रहेको बझाङमा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार भने अझै टुंगो लागेको छैन । उक्त पदमा पूर्ववनमन्त्री भानुभक्त जोशी र एमालेका केन्द्रीय सदस्य भैरव सिंहले दाबी गरिरहेका छन् । कांग्रेस, माओवादी केन्द्र र विवेकशील साझा पार्टीले भने उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् ।


कांग्रेस–एमालेले नाम पठाए

दैलेखमा एमाले र कांग्रेसले उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेसले क्षेत्र नं. १ मा पूर्व स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्का र जगतजंग थापाको नाम पठाएको छ । एमालेले सांसद अम्मरबहादुर थापा र पार्टी अध्यक्ष रवीन्द्रराज शर्माको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नं. २ बाट कांग्रेसले मधुरविक्रम खनाल, रंगबहादुर शाही, शिवराज जोशी, दिक्पाल शाही र सीताकुमारी राना तथा एमालेले पूर्वसहायक मन्त्री विनोदकुमार शाह र राजबहादुर बुढाको नाम सिफारिस गरी पठाएको जनाएका छन् । प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट कांग्रेसले जिल्ला सभापति कृष्णकुमार बीसी, दशरथ खड्का, नरसिह मल्ल, हेमशंकर अधिकारीको नाम सिफारिस गरेको छ । एमालेले हिमालयजंग शाह र टोपबहादुर बीसीलाई सिफारिस गरेको छ । क्षेत्र क्षेत्र नं. २ बाट कांग्रेसले भेषबहादुर थापा, कर्णबहादुर शाही र बखत कटुवाल तथा एमालेले लोमन शर्मा र टेकबहादुर खाँणलाई सिफारिस गरेका छन् । क्षेत्र नं. ३ मा एमालेबाट सुशील थापा र एमाले प्रचार विभाग सचिव विष्णु रिजाल सिफारिसमा परेका छन् । क्षेत्र नं. ४ मा कांग्रेसबाट कृष्णप्रसाद जैसी र शेरबहादुर शाही तथा एमालेबाट सूर्यबहादुर शाही र राजबहादुर बुढा सिफारिसमा परेका छन् । माओवादी केन्द्रले भने केन्द्रीय निर्णयको पर्खाइमा रहेको जनाएको छ ।


प्रतिनिधिसभालाई सर्वसम्मत

डोल्पामा एमालेले सांसद धनबहादुर बुढा र कांग्रेसले जिल्ला सभापति अंगदकुमार बुढालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएका छन् । माओवादी केन्द्रले भने केन्द्रीय निर्णयको पर्खाइमा रहेको जनाएको छ । नयाँ शक्ति नेपालले भूतपूर्व सभासद रामबहादुर बोहरालाई सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले जादे ऐडी, छक्कबहादुर धराला, चिना केसी, विष्णुबहादुर रोकाया र ज्याम्पा लामालाई सिफारिस गरी पठाएको जनाएको छ । कांग्रेस पूर्वसभापति टंकप्रसाद उपाध्याय र भूतपूर्व सभासद दुधकुमारी हमाललाई समानुपातिकतर्फ सिफारिस गरेको छ । नयाँ शक्तिले कमलकुमारी शाहीको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. १ मा एमालेले नन्दसिंह बुढा र लंकबहादुर शाहीको नाम सिफारिस गरेको छ भने कांग्रेसले वेगमसिंह ठकुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २ बाट एमालेले हंशबहादुर शाही, दत्तबहादुर रोकाया, जुना चन्द रोकाया र आङबहादुर लामाको नाम सिफारिस गरेको छ । त्यस्तै कांग्रेसले कर्णबहादुर रोकायालाई सिफारिस गरेको जनाएको छ । प्रदेश सभाको समानुपातिकतर्फ एमालेले वद्मी बुढा, क्याल्पो थापा भोटे, चन्द्रदत्त खत्री र जक्त विकलाई सिफारिस गरी पठाएको छ भने कांग्रेसले प्रदेश समानुपातिकतर्फ रमादेवी न्यौपाने, हीरा रोकाया र कली थापाको नाम सिफारिस गरी पठाएको छ ।


६ पदका लागि २६

नेपाली कांग्रेस पश्चिम रुकुमले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ संघको १ र प्रदेशसभाका २ उम्मेदवारका लागि १४ जनाको नाम पठाइएको छ । समानुपातिकतर्फ पनि ३ पदका लागि १२ जनालाई सिफारिस गरिएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले बताए । उनका अनुसार संघको प्रत्यक्षतर्फ गोपालजीजंग शाह, प्रेमप्रकाश ओली, वीरबहादुर ओली र यमबहादुर केसीलाई सिफारिस गरिएको छ । १ नम्बर निर्वाचन क्षेत्रबाट कृष्णबहादुर रोकाय, हर्कसिंह खत्री, राजु केसी, ओम केसी, गंगाराम गौतम र लेखमाया केसीलाई सिफारिस गरिएको छ भने २ बाट तिलकबहादुर भण्डारी, थलबहादुर खड्का, गोरखप्रसाद चन्द र नरजंग ओलीको नाम पठाइएको छ ।
यसैगरी क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यको समानुपातिकमा मानबहादुर नेपाली, धीरेन्द्रकुमार बटाला, मनीषा भण्डारी, जनककुमार बाँठा र यज्ञ परियार सिफारिस भएका छन् । २ नम्बर क्षेत्रबाट प्रदेश सभा सदस्यमा कालुराम खड्का, खड्गबहादुर डाँगी, सीता ओली, भीमबहादुर डाँगी, मोहनप्रकाश आचार्य र दीपेन्द्र पुनलाई सिफारिस गरिएको छ । कांग्रेस पूर्वी रुकुमले भने यसअघि नै प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको नाम सिफारिस गरिसकेको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा हरिशंकर घर्तीमगर, १ नम्बर निर्वाचन क्षेत्रबाट दूतकुमार पुन र २ नम्बरबाट दत्तबहादुर बस्नेतको नाम सर्वसम्मत भएको छ ।


आकांक्षीको लर्को

स्थानीयस्तरमा सहमति नजुटेपछि दार्चुला कांग्रेसले सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि १ र प्रदेश सभाका लागि २ क्षेत्र रहेको जिल्लामा कांग्रेसका २८ आकांक्षी देखिएका छन् । जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आकांक्षीको नामावली केन्द्रीय समितिमा पठाएको जिल्ला सचिव गोबर्धन कोलीले बताए । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र नेता गौरीशंकर गिरिको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभामा समानुपातिक खुलातर्फ विक्रमसिंह धामी र पूर्वसभापति महादेव बडू सिफारिसमा परेका छन् । समानुपातिक समावेशीमा जनजातितर्फ सभापति ललितसिंह बोहरा र दलिततर्फ जयराम टमटाको नाम सिफारिस गरिएको छ । प्रदेश सभामा प्रत्यक्षका लागि क्षेत्र नं १ बाट सभापति ललितसिंह बोहरा, मदन गिरि, दानसिंह तिंकरी, हरकसिंह विष्ट, नन्दा बम, धीरेन्द्र साउद, चन्द्रसिंह सामन्त, गणेश राज भट्ट, पदमराज पन्त, गोकर्णबहादुर चन्द, नरेन्द्रसिंह धामी, सुरेन्द्रप्रसाद अवस्थी, कृष्णप्रसाद भट्ट, दुर्गादत्त भट्ट र वासुदेव बडू गरी १५ जना आकांक्षी छन् । प्रदेश सभा समानुपातिकमा महादेव बडू (कश्यप), मानसिंह बोहरा, जयदेव जोशी, कृष्णप्रसाद भट्ट, गजेन्द्रसिंह कार्की र राजेन्द्रप्रसाद बडू छन् । प्रदेश सभा समानुपातिक समावेशी महिलामा नन्दा बम, संगीता चन्द, शान्ति बम, राजु अवस्थी र द्रोपती चैसिर छन् । जनजातितर्फ दानसिंह तिंकरी, सन्तोषकुमार सिंह ऐतवाल, वासुदेवसिंह ऐतवाल र यशोदा तिंकरीको नाम सिफारिस गरिएको छ । क्षेत्र नंं २ बाट प्रदेश सभाका लागि जगदीशबहादुर पाल, मानसिंह बुढाथोकी, विक्रमसिंह धामी र रामदत्त जोशी र समानुपातिकतर्फ खुलामा शम्भुप्रसाद जोशी, केशवबहादुर सिंह, मोहनसिंह साउद र रामदत्त जोशी तथा महिलाका लागि देवकी बोहरा (ठेकरे) को नाम सिफारिस गरिएको छ ।

देश

उम्मेदवार छान्ने चटारो

- कान्तिपुर टिम
नवलपरासीमा प्रदेश र केन्द्रीय चुनावको तयारीका लागि छलफलमा जुटेका कांग्रेस महामन्त्री शशांक कोइरालासहितका नेता–कार्यकर्ता । तस्बिर : नवीन पौडेल/कान्तिपुर

कपिलवस्तु– कांग्रेसले जिल्लामा प्रतिनिधिसभाका दु्ई क्षेत्रमध्ये १ नम्बरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित तीन जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । उनीसँगै सांसद अतहर कमाल र पूर्वराज्यमन्त्री कमलेशकुमार शर्माको नाम पनि सिफारिस गरिएको छ । उपाध्याय राजदूतबाट राजीनामा दिई यसै साता नेपाल आउने छोरा आशिष शर्माले बताए । कमाल गत संविधानसभा निर्वाचनमा स्वतन्त्र रूपमा चुनाव जितेर कांग्रेस प्रवेश गरेका थिए । त्यस्तै क्षेत्र २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वराज्यमन्त्री सुरेन्द्रराज आचार्यको नाम सिफारिस भएको छ । पार्टी जिल्ला सभापति तथा सांसद रहेका उनको एकल नाम सिफारिस भएको हो । समानुपातिकतर्फ १ मा ७ जना, क्षेत्र २ मा ३ जना र क्षेत्र ३ मा ५ जनाको नाम सिफारिस भई आएको क्षेत्रीय सभापति केशव श्रेष्ठले बताए । उम्मेदवारको नाम गाउँ, नगर र क्षेत्र हुँदै जिल्लामा सिफारिस भएको हो ।
क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार को हुने भन्नेमा केन्द्रले निर्णय लिने बताइएको छ । गाउँ र क्षेत्रबाट वीरेन्द्रकुमार कनौडियाको नाम सिफारिस आए पनि अन्तिम समयमा उनी पछि परेका छन् । संघीय समाजवादी फोरम परित्याग गरेका सांसद अभिषेकप्रताप शाह पनि टिकट पाउने आश्वासनले कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको चर्चा छ ।


केन्द्रलाई जिम्मा

नवलपरासीमा पनि सबैजसो मुख्य दलका जिल्ला समितिले सर्वसम्मत नाम छान्न नसकेपछि केन्द्रलाई नै जिम्मा दिएका छन् । प्रदेश नम्बर ५ को परासी र ४ नम्बर प्रदेशअन्तर्गत पर्ने नवलपुर क्षेत्रमा दुई/दुई प्रतिनिधिसभा सदस्य र चार–चार जना प्रादेशिक सभाका लागि चुनाव लड्नेछन् ।
केही दिनअघि मात्र राजपा छाडेका हृदयेश त्रिपाठी प्रदेश नम्बर ५ अन्तर्गत क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधिसभाका लागि निर्विरोध सिफारिस भएका छन् । शोभाकान्त ढकाल दुई नम्बर क्षेत्रमा निर्विरोध भएका छन् । प्रदेश सभाका लागि १ (क) बाट बृहस्पति अधिकारी, दीपेन्द्र अधिकारी, रुक्माङगत ज्ञवाली, टोपबहादुर सिंह ठकुरी र सिन्धु जलेसाको नाम सिफारिस भएको छ । १ (ख) मा टेकनारायण उपाध्याय, रामु अर्याल, रमेश पाण्डे, गणेश पोख्रेल तथा २ (क) बाट केन्द्रीय सदस्य बैजनाथ चौधरी र (ख) बाट सीताराम चौधरी निर्विरोध सिफारिस भएको एमाले परासीले जनाएको छ ।

प्रदेश नम्बर ४ अन्तर्गत एमाले नवलपुरले पनि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ मा कृष्ण पौडेल, गोपाल खनाल, सुष्मा काफ्लेको नाम केन्द्रमा पठाइएको छ । २ बाट केन्द्रीय सदस्य तिलक महत प्रतिनिधिसभाका लागि निर्विरोध सिफारिस भएको अध्यक्ष रोशनबहादुर गाहाले जानकारी दिए । क्रान्तिकारी माओवादीले प्रदेश नम्बर ४ को नवलपुर १ नम्बर क्षेत्रमा प्रतिनिधि सदस्यका लागि पीताम्बर तिवारीको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि (क) मा कृष्ण सापकोटा र (ख) मा गीतामाया पाण्डे रहेका छन् । २ नम्बर क्षेत्रमा प्रतिनिधि सदस्यमा श्याम कुमाल र प्रेस सदस्य (क) मा कल्पना विन्दु तिवारी (ख) मा खड्गबहादुर बाह्रघरेको नाम सिफारिस भएको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले नवलपुर क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । पूर्वकेन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली तथा महेन्द्रध्वज जीसीसमेत नवलपुर क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकाले कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । क्षेत्रीय समितिमा तीनै नेतासहित अन्य आकांक्षी पनि रहेकाले जिल्ला समितिले अन्तिम टुंगो लगाउन सकेको छैन । जिल्ला सचिव बालकृष्ण घिमिरेका अनुसार क्षेत्रीय समितिबाट नाम आउनेक्रम जारी रहेकाले शनिबारसम्ममा केन्द्रमा नाम सिफारिस हुनेछ । माओवादी केन्द्रमा उम्मेदवारी चयन र आकांक्षीको राय बुझ्ने काम भइरहेकाले अन्तिम निर्णय हुन सकेको छैन । जिल्ला इन्चार्ज किसन गैरेका अनुसार वाम गठबन्धनपछि उम्मेदवार मिलाएर सिफारिस गर्ने वा एकल सिफारिस गर्ने भन्नेमा छलफल भइरहेको छ ।


आकांक्षीजति सबै सिफारिस

रामेछापमा कांग्रेस भेलाले आगामी प्रदेश र संघको निर्वाचनका लागि इच्छा हुने सबैलाई उम्मेदवार बन्न सिफारिस दिएको छ । दुवै तहमा गरी वर्णानुक्रमबमोजिम सिफारिस भएका नेता तथा कार्यकर्ताको संख्या ६० रहेको कांग्रेसले जनाएको छ । जिल्लामा सिफारिस पाउनका लागि योग्यको खोजीभन्दा पनि मन लाग्ने जति सबैलाई सिफारिस दिइएको हो । बैठकमा उपस्थित नभएकाहरू पनि उम्मेदवार सिफारिसको नामावलीमा समेटिएका छन् । कांग्रेसले एक क्षेत्रमा हुने संघको निर्वाचनमा उम्मेदवार हुनका लागि आङटावा शेर्पा, शिवबहादुर खड्का, रामचन्द्र खड्का, पूर्णबहादुर तामाङ (कान्छाराम) भरत चौलागाईं र किशोर सुनुवारको नाम पठाएको छ । संघको समानुपातिकमा लक्ष्मणप्रसाद घिमिरे, गेल्जे शेर्पा, इन्द्रावती मोक्तानलगायत १२ जनाको नाम सिफारिसमा परेको छ । दुईवटा निर्वाचन क्षेत्र हुने प्रदेशको प्रत्यक्ष तर्फ लवश्री न्यौपाने, युवराज भट्टराई, डा. सुमन कर्माचार्य, रत्नबहादुर कार्की, लेखबहादुर कार्की, ध्रव लामा, झनक श्रेष्ठ, ज्ञानेन्द्रराज आरण, केशवप्रसाद चालिसे, भुवन खड्कालगायतको नाम सिफारिसमा परेको कांग्रेसले जनाएको छ ।


कांग्रेसका ११ जना

ताप्लेजुङमा कांग्रेसले दुई निर्वाचन क्षेत्र र केन्द्रका लागि ११ जनाको नाम सिफारिस गरेको छ । प्रदेश नम्बर १ का लागि प्रत्यक्षतर्फ लीलादेवी बोखिम, गजेन्द्र तुम्याहाङ र युवराज गुरुङको नाम सिफारिस भएको छ । २ मा दीपेन्द्र सेन्दाङको मात्रै नाम सिफारिस गरिएको छ । केन्द्रका लागि केशवप्रसाद दाहाल, गोपाल गुरुङ, छविरमण गुरुङ र मीना गुरुङको नाम पठाइएको छ । समानुपातिकतर्फ प्रतापप्रकाश हाङगाम, तिलप्रसाद सुब्बा, भारती गुरुङको नाम सिफारिस गरेको सचिव छविरमण गुरुङले बताए । एमाले र माओवादी केन्द्रले भने तालमेल घोषणापछि सिफारिस स्थगित गरेका छन् ।

Page 6
सम्पादकीय

चुनावमै हुनुपर्छ अर्जुनदृष्टि

मुलुक महत्त्वपूर्ण घडीमा गुज्रिरहेका बेला देखापरेको राजनीतिक ध्रुवीकरणले नयाँ तरंग ल्याइदिएको छ । दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रले नयाँ शक्ति पार्टीसहित वाम तालमेलको घोषणा गरेपछि संसद्को सबभन्दा ठूलो दल नेपाली कांग्रेसको अगुवाइमा अर्को ‘बृहत् लोकतान्त्रिक गठबन्धन’ बनाउने तयारी भइरहेको छ । अहिले वाम र गैरवाम दुई ध्रुवमा राजनीतिक दलहरू बाँडिन थालेका छन् । ठूला दलहरूले नेतृत्व गरेको गठबन्धन बलियो बन्दै जाँदा साना राजनीतिक दलहरूले पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने अवस्था सुनिश्चित गर्न कुनै न कुनै गठबन्धनमा घुस्रनुपर्ने बाध्यात्मक परिस्थिति देखिँदै गएको छ । समानुपातिक प्रणालीबाट प्रतिनिधित्व हुने सम्भावना न्यूनतम मतसीमाको प्रावधानले धेरै साना दललाई बन्द गरिसकेको छ । राजनीतिक दलहरूबीच भइरहेको यो ध्रुवीकरण अहिले चुनावी प्रयोजनका लागि नै देखिन्छ, यद्यपि यसले दीर्घकालीन प्रभाव पार्न सक्छ । दलहरूले अहिले चुनावलक्षित गठबन्धन निर्माण गरिरहेका भए पनि यसले सरकार फेरबदल र चुनावका विषयमा भने संशयसमेत पैदा गरेको छ । खासगरी माओवादी केन्द्रले सत्ता साझेदार दललाई छाडेर प्रमुख प्रतिपक्षी दलसँग तालमेल गर्दै पार्टी एकता अभियान घोषणा गरेपछि त्यस्तो संशय उत्पन्न भएको हो । माओवादीले सत्ता छाडिहालेको छैन र नयाँ चुनावी गठबन्धन बनाए पनि सत्ता गठबन्धन नटुट्ने बताउँदै आएको छ । तर उसको सरकारमा उपस्थिति अनिश्चित देखिन्छ । माओवादीको सत्तामा सहभागिताले निरन्तरता पाए पनि वा बहिर्गमन भए पनि त्यसबाट आसन्न चुनाव प्रभावित हुने अवस्था भने सिर्जना गरिनु हुँदैन किनभने आसन्न चुनाव प्रभावित भयो भने त्यो मुलुककै लागि घातक हुन्छ । प्रमुख प्रतिपक्षी दल एमालेले समेत अहिले सरकार फेर्ने पक्षमा आफूहरू नरहेको बताउँदै आएको छ । एमाले र माओवादी दुवै दल यसैमा चुनावसम्म प्रतिबद्ध हुनुपर्छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार एक किसिमले चुनावी सरकार हो । मुलुकको राष्ट्रिय कार्यसूची पनि यतिबेला चुनाव नै हो । त्यसैले प्रधानमन्त्री देउवाले आफूले गर्ने निर्णय र चाल्ने कदम तोकिएकै दिन चुनाव गराउन बल पुग्नेखालको हुनुपर्छ । व्यवस्थापिका–संसद्को आयु करिब दुई साता मात्र रहेका बेला सरकार फेरबदल गर्नेतिर कुनै दल पनि लाग्नु हुँदैन । पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा कात्तिक ५ गते प्रत्यक्ष प्रणालीतर्फको उम्मेदवार मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका भएकाले संविधानबमोजिम अघिल्लो दिन नै यो संसद्को म्याद सकिनेछ । चुनावी आचारसंहिताका कारण प्रधानमन्त्री देउवा नयाँ मन्त्री थप्ने अवस्थामा पनि छैनन् । सरकार र राजनीतिक दलहरू निर्वाचन आयोगले एक महिना अघिबाट लागू गरेको आचारसंहिता पालनामा इमानदार बन्नुपर्छ । सबैको भूमिका निर्धारित मितिमै शान्तिपूर्ण, भयरहित, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव हुने परिस्थिति तयार गर्नका लागि हुनुपर्छ ।

चुनाव बेलैमा सम्पन्न भएपछि मात्र विगतमा विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको संविधान कार्यान्वयन सहज बन्नेछ । संवैधानिक संक्रमण अन्त्य गर्ने क्रममा नागरिकको उल्लासपूर्ण सहभागितामा यसअघि स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । अब मंसिर १० र २१ गतेका तोकिएका निर्वाचनका लागि राजनीतिक दलहरूको तल्लो तहका इकाइहरूबाट उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको छ । त्यसले चुनावी माहोल पनि बढाउँदै लगेको छ । यी दुई चुनाव सकिएपछि लामो राजनीतिक उथलपुथलपछि जनप्रतिनिधिले निर्माण गरेको संविधान पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ । दशक लामो राजनीतिक संक्रमण विधिवत् रूपमा टुंग्याउने गरी हुन लागेको यो चुनावतर्फै सबैको अर्जुनदृष्टि रहनुपर्छ ।

दृष्टिकोण

वाम एकता : प्रचण्डको आखिरी चमत्कार

- प्रदीप गिरि
प्रदीप गिरि

काठमाडौं उपत्यका सधैं रोमाञ्चको प्रतीक्षामा रहन्छ । तदनुरूप नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल यस साता छापाहरूका बिकाउ समाचार भएका छन् । माओवादी अध्यक्ष प्रचण्डको १२ वर्षअघिको त्यो अवतरण यस्तै हर्षबढाइँसाथ भएको थियो । प्रवासी प्रचण्ड एक करिश्मायी व्यक्तित्वको रूपमा प्रकट भएका थिए । रूपान्तरण खोजिरहेका सबैथरीका नेतृत्व वर्गले प्रचण्डको खुला हृदयले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाललाई अर्को स्विट्जरल्यान्ड बनाउने सपना दिएका थिए । तर काठमाडौं उस्तै छ । अब प्रस्तावित कम्युनिस्ट एकताले आगामी संसद्मा दुई तिहाइ बहुमत दिने अरे । त्यसपछि काठमाडौं अमरावती हुनेछ । भानुभक्तले उहिल्यै काठमाडौंलाई ‘अलकापुरी कान्तिपुरी नगरी’ त्यसै भनेका थिएनन् । ‘राष्ट्रवादी’ र ‘साम्यवादी’ नेताद्वयले भानुभक्तको सपना साकार गर्न खोज्नु सर्वथा बुझ्न सकिने कुरा हो । लामो समयदेखि नेपाल एक स्थिर र जड समाज थियो । यस्तै समाजले चमत्कारको प्रतीक्षा गर्छ । त्यस्तै चमत्कारको आशा देखाएर माओवादीको जनयुद्ध उचाइमा पुगेको थियो । त्यस उचाइको प्रवेगमा उम्लिएर प्रधानमन्त्री प्रचण्डले एकसाथ पशुपति, सेनापति र राष्ट्रपतिलाई तह लाउन खोजेका थिए । सकेनन् । परिणामत: उनी सत्ताच्युत भए । दोस्रोपटक सत्तामा उनी किन र कसरी आए, सबैलाई थाहा छ ।कम्युनिस्ट एकताको सम्भावनाले प्रजातान्त्रिक कित्ता आत्तिएको हो कि जस्तो देखिएको छ । नेपाली कांग्रेसले बृहत् प्रजातान्त्रिक मोर्चाको प्रस्ताव अघि सारेको छ । देशी/विदेशी शक्तिहरू पनि प्रस्तावित कम्युनिस्ट एकीकरण र बृहत् प्रजातान्त्रिक मोर्चामा आफ्नो जित वा हार देख्दै होलान् । यतिसम्म ठीकै छ । तर राजनीतिक परिवर्तनको वास्तविक प्रक्रियातर्फ पनि ध्यान दिनु उत्तिकै आवश्यक छ । जनताको स्मरणशक्ति दीर्घकालीन हुँदैन । लाहुरे आर्थिकीको दलदलमा भासिएको छ, नेपाल । गाँस, बास र कपासको महाभारतमा प्रत्येक नेपाली आकण्ठ डुबेको छ । त्यसैले जनताले हाम्रा नेताहरूको चटके चालबाजी आजको भोलि नै बिर्सन्छन् । यसमा कुनै आश्चर्य भएन । तर राजनीतिक विश्लेषकहरूले यस्ता चटकबाजीको निहितार्थ बुझ्नु र बुझाउनुपर्छ । एउटा मोटरका चालकले गाडीको गतिशास्त्र नबुझ्दा पनि काम चल्छ । तर गाडीको मोडल फेर्न खोज्ने अभियन्ताले अध्ययनशील हुन आवश्यक छ ।



सर्वप्रथम बुझ्नुपर्ने एउटा कुरो छ । लोकतान्त्रिक राजनीति कुनै एक दिनमा चामत्कारिक ढंगले परिणाम दिने व्यवसाय होइन । संसदीय राजनीति भाग्योदय चिठ्ठा होइन । स्वस्थानी व्रतकथाका नवराजलाई हात्तीले माला लगाइदिएको थियो । कलियुगको चौथो चरणमा यो हुँदैन । समसामयिक राजनीति लिगलिगे दौड पनि होइन । दोस्रो जनआन्दोलनको सफलतापछि प्रचण्ड ठूलो हावाहुरीसाथ राजनीतिक क्षितिजमा उदाएका थिए । त्यसैको आस प्रकाशमा माओवादी पार्टीले २०६४ सालको संविधानसभा चुनावमा अप्रत्यासित विजय प्राप्त गर्‍यो । पछि मधेसको पक्षमा उर्लिएको समर्थनले त्यसरी नै केही मधेसी दलहरू हौसिएका थिए । उक्त दुवै सफलतापछि आ–आफ्नो हैसियत र ठाउँमा उभिन पुगे । राज्य र राजनीतिभन्दा धेरै बलियो समाज र संस्कृति हुन्छ । कम्युनिस्ट एकताको तात्कालिक उल्लास र त्रासले त्यो कुरो बिर्सनु हुंँदैन ।
मौका–कुमौकामा नेताहरूमाथि पुष्पवृष्टि भइरहन्छ । रामराजाप्रसाद सिंह र गणेशमान सिंहमात्र होइन, प्रचण्ड र गिरिजाप्राद कोइराला पनि पुष्पवृष्टिका दाबेदार हुन्छन् । अहिले प्रचण्ड र ओलीमाथि कथित कम्युनिस्टहरूले पुष्पवृष्टि गर्नैपर्छ । उतिबेला नेपाली कांग्रेस फुट्दा प्रजातान्त्रिक पक्षका नेताहरूउपर यस्तै पुष्पवृष्टि भएको थियो । जुट्दा पनि भयो । नेताहरूका उपर जुट्दा पनि र फुट्दा पनि पुष्पवृष्टि हुन्छ । त्यो हुनैपर्छ । नत्र पुष्प व्यवसाय शिथिल हुन्छ । वृष्टिकर्ता बेरोजगार हुन्छन् । गहिरिएर हेर्नेले यस परिदृश्यबाट भ्रमित हुनु हुँदैन । व्यक्ति, व्यतित्व र दलहरू राजनीति र इतिहासको आदि र अन्त्य होइनन् । वर्ग, जाति, प्रजाति, लिंग र जातीयता समाजका प्रभावशाली वास्तविकता हुन् । राष्ट्रिय राज्यको भू–अवस्थिति अर्को अकाट्य तथ्य हो ।

२०६४ पछि भएको २०७० सालको संविधानसभा चुनावमा नेकपा माओवादी नराम्ररी पराजित भयो । पराजयको त्यस पीडाले तिलमिलाएर प्रचण्डले चुनाव बहिष्कारसम्मको धम्की दिए । धन्न उनी सम्हालिए । थोरै मात्र सिट लिएर पनि संसदीय राजनीतिमा प्रधानमन्त्री भएर देखाउन उनी सफल भए । तर त्यो उनको व्यक्तिगत उपलब्धि थिएन । सत्ता राजनीतिमा आकण्ठ डुबेको सम्भ्रान्त वर्गको सततको बुभुक्षा थियो । त्यस बुभुक्षालाई निम्न मध्यम वर्गको हतार र हतासको चाहनाले मलजल गर्छ । त्यो परिस्थिति अझै यथावत् छ । महत्त्वाकांक्षी प्रचण्ड यसपटक फेरि ओलीका शरणमा पुगेका छन् । शरणदाता र शरणार्थीको यो नयाँ गठबन्धनको भविष्य के हुन्छ, अहिले भन्न सकिँदैन । तर प्रचण्डको यसपटकको यो शीर्षासन अथवा ‘एवाउट टर्न’ ले उनको राजनीतिक विश्वसनीयतालाई आखिरीपटक मरणासन्न बनाएको छ । तर उनको पोल्टामा मात्र सारा दोषारोपण अटाउँदैन । एमाले र कांग्रेस आपैंm पालोपालो उनीसँग लगनगाँठो कस्न तम्सिएका हुन् । सैद्धान्तिक आधारको कुनै आवरण र आभाससमेत छैन । अंकगणित नै सबकुछ हो भनेर हिजो शेरबहादुर र आज ओली जोसिनुभएको छ । पुर्खाको पुण्यले होला, कांग्रेस उम्किएको छ । ओलीको हौसला भोलि देखिएला ।

यसपटकको चुनावको परिणाम के हुनेछ भनेर प्रचण्ड सारै आत्तिएका थिए । त्यसो हुँदा उनी विगत एक महिनादेखि हारगुहार गर्दै थिए । आगामी संसद्मा मेरो सम्मानजनक उपस्थिति हुनुपर्‍यो भन्न उनी कहीँ चुकेका थिएनन् । उनले यो कुरा कांग्रेस सभापति शेरबहादुर देउवालाई अनेकौंपटक भने । त्यति मात्र होइन, प्रचण्डको स्वभावअनुसार उत्तर–दक्षिणसँग पनि सम्पर्क गर्न भ्याएको हुनुपर्छ । प्रचण्डको यो अत्याहट नितान्त स्वाभाविक थियो । मान्छेले जोगी बन्न राजनीति गर्दैन । प्रधानमन्त्री पदका दाबेदारले कसैले गर्दैन । प्रचण्डलाई आगामी संसद्मा त्यस्तै परे प्रधानमन्त्रीसमेत बन्न पुग्ने सिट चाहिएको छ । यसपटक उनको त्यो अभीष्ट पूरा होला त ?राजनीतिक दललाई अंग्रेजीमा ‘पार्टी’ भनिन्छ । समाजको एक हिस्सा अर्थात् ‘पार्ट’ भएकाले राजनीतिक दललाई ‘पार्टी’ भनिएको हो । माओवादी केन्द्र अझै पनि नेपाली समाजको स्वाभाविक अंग भएको छैन । कांग्रेस र एमाले भइसकेका छन् । सशस्त्र विद्रोहको त्रास, आसमा ०६४ को चुनावमा माओवादीले धेरै सिट ल्याएको अवश्य हो । तर नेपाली समाजमा वा अन्तर्राष्ट्रिय जगत्मा पनि प्रचण्डको क्रियाकलाप अझै पनि प्रश्नवाचक रहेका छन् । यसपटकको नाटकीय फड्कोपछि प्रचण्डको बेचैनी एउटा बिसौनीमा पुग्न सक्छ । माओवादी केन्द्रले भने त्यसको ठूलो मूल्य तिर्नुपर्छ ।
अहिलेको यो प्रस्तावित चुनावी तालमेल सत्ताको तृष्णा मात्र हो । कम्युनिस्ट एकताको कुरा सर्वथा हास्यास्पद हो । भूमण्डलीकरणको हुरीमा आकण्ठ डुबेका मित्रहरूले यो कम्युनिस्टको नाम कति दिनसम्म भजाउन सक्लान् ? यसको अर्थ कांग्रेस वा उसले बनाउन खोजेको प्रजातान्त्रिक मोर्चा भने चोखो र चुस्त हुनेछ भन्ने होइन । प्रचण्ड र ओलीको त नाम र काममा साम्य छ, साम्यवाद छ । प्रस्तावित प्रजातान्त्रिक मोर्चाको बारेमा झन् धेरै प्रश्न उठ्न सक्छन् । प्रजातान्त्रिक मोर्चाको सिद्धान्त पनि भूमण्डलीकरणबाट नि:सृत भएको छ । कांग्रेसले बीपी कोइरालाको वैचारिक उत्तराधिकारलाई सम्झिदिएको भए यस्तो बिजोग हुने थिएन । कांग्रेसका नेताहरूले आफ्ना अर्थनीतिको तर्जुमा कर्मचारीतन्त्रका भरमा गरे । त्यो नहुँदो हो त कम्युनिस्टका नाउँमा यत्रो शक्ति एकत्र हुने थिएनन् । तर यति भएर पनि प्रजातान्त्रिक समाजवादको सम्झना मात्र पनि कतै छ भने बस कांग्रेसमा छ ।

विगतका कमी–कमजोरीका निम्ति कांग्रेससँग थुप्रा स्पष्टीकरण होलान् । बहुदलीय व्यवस्था आएलगत्तै पछि संसद्मा कांग्रेस–कम्युनिस्टको टकराव सुरु भयो । कांग्रेसभित्र आत्मघाती कलह सुरु भयो । कांग्रेस आत्मघाती कलहको सिकार भयो । त्यसपछि मध्यावधि निर्वाचन, माओवादीको जनविद्रोह, त्यसै क्रममा राजा वीरेन्द्रको हत्या, कांग्रेसको फुट, त्यसपछि माओवादीलाई मूलप्रवाहमा ल्याउने ऐतिहासिक अभियान । कांग्रेसले भन्न सक्छ— सासै फेर्ने फुर्सद पनि भएन नि त † यस चुनावपछि कांग्रेसले सास फेर्न सक्छ कि ? यही भनेर यसपल्ट कांग्रेसले भोट माग्ला । तर अहिले कांग्रेसले पनि बुझ्नुपरेको छ— पार्टीहरू मिल्दैमा उनीहरूका कार्यकर्ता मिल्दैनन् । प्रधानमन्त्री देउवाको एउटा थेगो छ, ‘पोलिटिक्स इज अल लोकल’ भनेर जपिरहन्छन् । टिकट बाँड्ने बेलामा सभापतिले यो सम्झन आवश्यक छ । अझ सम्झनुपर्ने अर्को कुरो छ— एउटा दलको सबै भोट अर्कोमा सरक्क जाँदैन । भोटको राजनीति मुख्यत: स्थानीय तहमा टुंगो हुन्छ । एमालेले ल्याउँदै गरेको भोट सबै माओवादीलाई जाँदैन । न त माओवादीको भोट नै एमालेलाई जान्छ ।

कुनै पनि राजनीतिक एकता यान्त्रिक ढंगबाट अगाडि बढ्दैन । शीर्षस्थ नेताहरूले अंकमाल गरेर फोटो खिचाउँदैमा पार्टीभित्र वा पार्टी–पार्टीमाझ एकता कायम हुँदैन । त्यसो हुँदो हो त कांग्रेसका नेतात्रयको झगडा उहिल्यै सुल्झिन्थ्यो । एकता एक सुदीर्घ राजनीतिक प्रक्रिया हुनुपर्छ । राजनीतिक प्रक्रिया विचारविहीन हुन सक्दैन । विचारको आलोकमा अगाडि सारिएका कार्यक्रम र कार्यपद्धतिको स्वीकृतिले एकतालाई विश्वसनीय बनाउँछ । लोकतान्त्रिक मोर्चामा कांग्रेसको विचार अस्वीकार्य छैन । त्यो एउटा उज्यालो पक्ष हो । तर माओवादी र एमाले आ–आफ्ना विचारकै बारेमा अलमलमा छन् । माओवादीको प्रचण्डपथ र एमालेको बहुदलीय जनवाद कर्मकाण्ड मात्र रहन गएको छ । दसैंको टीकामा प्रचण्डले प्रचण्डपथको विकल्प भेटेका हुन् त ? यो हो भने ठीकै छ । उनी एक खाँट्टी परम्परावादी पार्टीका रूपमा चुनावमा जान सक्छन् । उनको पार्टीका आदर्शवादी र जुझारु कार्यकर्ता उनीसँग रहने छैनन् । मोहन वैद्य, सीपी गजुरेल र विप्लवको समूह यस एकीकरणबाट लाभान्वित हुन सक्छन् ।

अब यसपल्टको यो चुनाव वैचारिक आधारमा उठिएला भन्ने आशा छैन । यसपटकको चुनावको रंगरूप र परिवेशका निम्ति प्रचण्ड नै उत्प्रेरक तत्त्व भए । जाँदाजाँदै पनि उनी यति गरेर नै जाने भए । उनको राजनीतिक जीवनको आखिरी चमत्कारका रूपमा यो चुनाव नेपाली इतिहासमा दर्ज गरिनेछ ।होइन भने जे भएको छ— ती सबै सत्ताको लडाइँ मात्र हो । त्यसको परिणाम हेर्न धेरै पर्खनुपर्ने छैन । सय दिनभित्र नै सबकुछ स्पष्ट हुनेछ । एउटा कुरा भने अहिले नै स्पष्ट छ । जनयुद्धका नाममा हजारौंलाई बलिदानका निम्ति प्रेरित गर्ने प्रचण्ड अब एक सामान्य राजनीतिकर्मीमा खुम्चेका छन् । एउटा जनपक्षीय सपना स्खलित भएको छ । यो स्खलन एक दिनमा भएको होइन । जनयुद्धका शुभाकांक्षी सबैले हेर्दै थिए, देख्दै थिए । प्रचण्ड मक्किँंदै गएका थिए । एक विस्फोटका साथ उनको प्रस्थान होला जस्तो लागेको थियो । तर उनी मक्किएर पो हिँडे । यस्तै परिस्थितिलाई लिएर टी.एस. इलियटले लेखेका थिए :
दिस इज द वे द वल्र्ड एन्ड्स
दिस इज द वे द वल्र्ड एन्ड्स,
दिस इज द वे द वल्र्ड एन्ड्स
नट विद अ व्याङ वट अ ह्विम्पर ।
– द होलो मेन

पाठक मञ्च

सर्वदलीय सरकार कि विश्वासको मत ?

माओवादी केन्द्रले ‘लभ’ काग्रेससंँग र विवाह एमालेसँंग गरिरहेको छ । एकातिर सरकारमा बसी कांग्रेसलाई साथ दिइरहेको छ भने अर्कोतिर एमालेसंँग मिलेर आउँदो चुनाव उठ्दैछ । अर्थात उसको दुबै हातमा अहिले लड्डु छ । तर यस्तो तालले हुँदैन । ‘लभ’ एउटासंँग विवाह अर्कैसँंग गर्ने काम पाखण्ड हो । यो अनैतिक हुन्छ । कि सरकार चलाउनेहरूसंँगै गठबन्धन गरेर चुनाव उठ्नुपर्छ, होइन भने प्रतिपक्षहरूसंँग मिल्ने हो भने वर्तमान सरकार यथाशीघ्र छोड्नुपर्छ । चिची पनि पापा पनि भन्नु द्वैध चरित्र देखाउनु हो । अनि देउवा सरकारले पनि आफ्नो सरकारप्रति संसदको विश्वास कायम नै छ भनेर परीक्षण गर्नुपर्छ । अविश्वासको प्रस्ताव नआए पनि आफै विश्वासको प्रस्ताव राख्न कुनै कानुनले रोकेको छैन र यस्तो प्रचलन अन्य मुलुकमा पनि छ । माओवादी र कांग्रेसले जे गर्नुछ, संसद जीवित रहेकै बेला गर्नुपर्छ । कात्तिक ५ गतेपछि जब संसद रहँदैन, तब न अविश्वासको प्रस्ताव ल्याउन सकिन्छ, नत विश्वासको मत नै पाउन सकिन्छ । र माओवादीलेले पनि दुई नाउमा खुट्टा राख्ने काम अविलम्ब छोडनुपर्‍यो । यस अवस्थामा अब दुई काम मुख्य छन् कि देउवा सरकारले माओवादी बिना पनि आफू बहुमतको अवस्थामा छु भनेर संसदबाट विश्वासको मत लिनुपर्‍यो, होइन भने सर्वदलीय सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्‍यो । गठबन्धन सरकारको एउटा प्रमुख पाटो छुट्टिएर विपक्षी खेमामा जाँदा पनि सरकार चलाइरहनु अनैतिक हो । निश्चय नै माओवादी पार्टी र प्रचण्ड खासै विश्वसनीय छैनन् । कहिले एमालेको सरकारमा त कहिले कांग्रेसको सरकारमा । अनि अहिले पुन: एमालेतिर लस्कनुले माओवादीहरूको अवसरवादी चरित्रलाई प्रस्ट्याउँछ । प्रचण्डले सिद्धान्त र आदर्शको लागि एमालेसँंग गठबन्धन र पार्टी एकता गर्न लागेका होइनन् भन्ने कुरा हालै उनले देउवासँंग बोलेको कुराले नै प्रमाणित गरेको छ । प्रचण्डले देउवालाई भनेछन्, हामीलाई एमालेले ५० प्रतिशत सिट दिन्छौं भनेका छन् । कांग्रेसले कति दिने हो भन्नुहोस् । अर्थात यदि देउवाले प्रचण्डलाई एमालेले भन्दा बढी दिन्छांै भनेको भए उनी एमालेसँंग नभई कांग्रेससंँगै गठबन्धन बनाउन जाने रहेछन् । सिद्धान्त र आदर्श मान्नेहरूले यस्तो निच बार्गेनिङ गर्दैनन् । जुन प्रचण्डले गरे । यसर्थ एमालेसंँगको माओवादी लगनगाँठो घेरै लामो समय जाने छैन ।
– गोपाल देवकोटा
चावहिल, काठमाडौं

 

 राष्ट्रप्रेमको भावना नभएपछि
आफूमा आत्मविश्वास र सक्षमता नभएपछि कसै न कसैलाई भन्नैपर्छ, कसै न कसैसँग मिल्नैपर्छ । स्थानीय चुनावले खासै महत्त्व पाएको थिएन । तर आफूहरूको म्यादै सकिएर सरकार बनाउने चुनाव नजिकिएपछि ३ वामपन्थी दल मिलेर भएको तात्कालिक स्वार्थमुखी ‘चुनावी साँठगाँठ’लाई लिएर यतिखेर नेपाली राजनीतिक चर्चाको बजार चुलिएको छ । प्रचण्ड, ओली र बाबुराम— यी तीनैजना बाहुनहरू प्रधानमन्त्री खाइसकेकाहरू हुन् । अझ प्रचण्ड त दोहोर्‍याएर पनि । देशमा केही गर्छु भन्नेलाई प्रधानमन्त्रीभन्दा ठूलो पद र त्यसभन्दा ठूलो मौका के नै हुन्छ र ? तर सबैको भनाइ त ‘नाच्न नजान्ने आँगन टेढोकै’ पाराको रह्यो । यिनीहरूको पालामा भएको ‘शासन’ र देशले लिएको विकासको गतिबारे हामी सबैलाई थाहै छ । अहिले गरिएको चुनावी साँठगाँठलाई, गर्नेहरूले पनि के–के न गर्‍यौं भनेर खुबै ठूलो महत्त्वसाथ पुरानै थेगोलाई पुनरावृत्ति गर्दै ‘जनताको चाहना अनुसार’ भएको, स्थिर सरकार दिने, परिवर्तन गर्ने इत्यादि भनेर यत्रतत्र फलाक्तै छन् । हामी सुन्ने बुज्रुकहरू पनि के–के न भयो भन्ठानेर मख्ख पर्दैछौं र यता सत्तासीन पार्टी नेपाली कांग्रेस पनि अब खत्तमै भइने भइयो भन्ठानेर अन्य पार्टीलाई हारगुहार गर्दै ‘लोकतान्त्रिक मोर्चा’ बनाउन जुटिरहेको छ । सबैको मूलमन्त्र र नारा त उही नै हो —स्थिर सरकार, शान्ति, विकास, लोकतन्त्रको रक्षा....। बेकारका गतिविधि † नेता भइखाएर सिंहदरबार पुर्‍याइएकाहरूले यस बाहेक गर्नुपर्ने अरू धेरै चिन्तन र कामकाज बाँकी छैनन् र ?
संसारमा हामीले देखेसुनेकै हो, राजतन्त्र भएको देशमा पनि देशको विकास भएकै छ । पुँजीवादी शासन भने पनि विकासमा अवरोध आएको छैन । साम्यवादी शासन भनौं, त्यहाँ पनि विकासले चरम चुली छोएकै छ । तानाशाहीहरूले पनि देशलाई सम्पन्न बनाएकै छन् । मरुभूमि होस् कि पहाडभूमि होस्, विकासका कुनै कुरा पनि रोकिएका छैनन् । एउटै पार्टीले बहुमत ल्याउँदा पनि उन्नति भएकै छ । अनेक पार्टी मिलेर सरकार बन्दा पनि त्यो विकासप्रेमी स्थिर सरकार बनेकै छ । तर हाम्रोजस्तो राजनीतिक संस्कार नबसेको देशमा भने एउटै पार्टीले बहुमत ल्याउँदा पनि भाँडिएर देशलाई आर्थिक भार खेपाएको तितो अनुभव छ । कुनै पनि पार्टीले बहुमत नल्याउँदाखेरि प्राय: ९ महिना चलेका सरकारको त कुरै छोडौं । १२ वर्षमा त खोलो पनि फर्कन्छ भन्ने उखान छ । एकता गरेर भए पनि, मोर्चा कसेर भए पनि– जसरी होस्, अब त नेपाली नेताहरूको पनि बुद्धि आए हुन्थ्यो । अब त बहाना गर्न र भ्रम छर्न चटक्कै छाडे हुन्थ्यो । देशवासीलाई कमजोर नठाने हुन्थ्यो । थोरै भए पनि राष्ट्रप्रेमको भावना जागे हुन्थ्यो ।
– इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुंगा


 तालमेलले स्थिरताको आस पलायो
दसैँको रौनकले सबैलाई छोपिरहेकै बेला नेपाली राजनीतिले सबैको मनलाई एकाएक तानिदियो । कुरा वामपन्थी एकीकरणको हो । सुरुवातमा सुन्दा पत्याउन गाह्रै पर्ने कुरालाई लगत्तै चुनावी तालमेल एवं पार्टी एकीकरण सभा गरेर हल्लाझैँ लाग्ने कुरालाई सत्यमा बदलिदिए । वामपन्थी एकीकरण नेपालको अहिलेको मात्र होइन, दशकौँ अघिदेखिको आवश्यकता थियो । अब यही घोषणासँगै अगाडि बढे त्यो चाहना लगभग पूरा हुने अवस्थामा दलहरू आएका छन् । यसले वामपन्थी शक्तिहरू मजबुत त हुन्छन्, साथै वामपन्थी शक्ति बाहिर रहेका दलहरूलाई पनि एकीकरण हुन दबाब पर्ने देखिन्छ, जस अनुसार एकीकरण या गठबन्धन भए सरकारको स्थिरता, विकास निर्माण एवं नीति तथा तर्जुमा लगायत व्यापक सुधारको आशा गर्न सकिन्छ । तर बाहिरी देख्दा जति सहज तरिकाले एकीकरणको कुरा आएको छ, यो कार्यान्वयनमा एकदमै कठिन छ । विशेषत: नेतृत्व भागबन्डाले फेरि एकीकरणपूर्व नै किचलो सिर्जना गराई एकतामा धक्का पुग्न सक्छ । हुन त नेपाली राजनीतिमा जे अपेक्षा गरिन्छ, त्यसको ठिक विपरीत गतिमा राजनीति अगाडि बढेका उदाहरण अनेकौं छन् । यदि यो पटक कुनै विदेशीको प्रभावबिना आफैंभित्र नै एकता हुने अठोट गरेका भए अवश्य एकताले मूर्तरूप लिनेछ । आशा छ, अब अनेक अवस्था पार गरेर आइसकेका अनुभवी नेताले वाम एकता गरेर हावाको गतिमा चलिरहेको डुंगाझैं देशलाई स्थिरताको किनारा लगाउनेछन् ।
– समय अधिकारी
सिनाम, ताप्लेजुङ

एकता भावनात्मक हुनुपर्‍यो । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एकीकरण गर्ने सम्बन्धमा मंगलबार सहमति भयो । ३ दलको सहमति अनुसार आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रदेश र केन्द्रको निर्वाचनमा मिलेर निर्वाचन उठ्ने र त्यसको लागि एउटै चुनाव चिन्ह लिने पनि सहमति भएको देखिन्छ । गठबन्धन एवं एकता हुनुमात्रै ठूलो कुरा होइन, भावनात्मक एकता भयो कि भएन भन्ने कुरो ठूलो हो । जबसम्म स्वच्छ रूपमा पार्टी–पार्टीबीच भावनात्मक एकता हुँदैन, तबसम्म त्यो एकता दिगो र टिकाउ हुँदैन ।
– तिलप्रसाद न्यौपाने
माछापोखरी चोक, काठमाडौं

दसंै पनि सकियो । तिहार र छठजस्ता महत्त्वपूर्ण चाडले हामीलाई स्वागत गरिरहेको छ । तर राजनीतिको तरङ्गले सबैलाई छोएको छ । देश कता जाँदैछ भन्ने दिशा निर्धारण राजनीतिले गर्ने भएकाले यसप्रति सबैको चासो र चिन्ता भएको हो । राजनीतिकै कारण मुलुकको विकासको ढोका खुल्ने/नखुल्ने निर्धारण गर्छ । वाम र प्रजातान्त्रिक शक्तिहरू एक हुनुलाई प्राय: सबैले स्वागत नै गरिरहेको देखिन्छ । सबैको चाहना भनेकै यी दुई धार दिगो रहनु हो । सानो मुलुकमा धेरै राजनीतिक पार्टी छन्, जसलाई पाल्न जनताको क्षमताले भ्याउँदैन । त्यसैले कांग्रेस र कम्युनिस्ट मात्रै दुई पार्टी हुने संकेत सुखद मान्नुपर्छ । जनताले कांग्रेस र कम्युनिस्टमध्ये कुनै एक विचारलाई बहुमत देउन् । संसदमा बहुमत प्राप्त शक्तिले सरकारको नेतृत्व गरोस् । संसदीय अभ्यासको यस विश्वव्यापी मान्यता हामीले पनि हेर्नुपर्छ । स्थिर सरकार भएर मुलुकमा छिटो विकास हुनुपर्छ । सधैं सत्ता परिवर्तन तथा अस्थिर राजनीतिले वाक्कदिक्क जनता स्थिर सरकार भएको मुलुकमा छिटो विकास भएर विकसित देशको जनता हुन चाहन्छन् ।
– सरस्वती पाण्डे
धुनीबेँसी–९, धादिङ

एमाले, माके र नयाँ शक्ति एकताको धु्रवमा फर्किंदा यतिखेर राजनीतिक बहसले ठूलै ‘स्पेस’ पाएको छ । नेतामा मत बाझिएको छ । कांग्रेससंँग चुनावी तालमेल गरी अघि बढेका माओवादी केन्द्र अहिले पनि सरकारमा छ, अर्कोतर्फ एकताको सहमतिको केन्द्रविन्दुमा पुगेकालाई कांग्रेसले गठबन्धन
तोड्नका लागि प्रचण्डलाई प्रधानमन्त्री बन्न असान्दर्भिक प्रस्ताव असफल हुँदा साना दललाई समेटेर लोकतान्त्रिक गठबन्धन बनाउनका लागि गरिएको अभ्यास सकारात्मक मान्नुपर्छ । देशमा राजनीतिक दल धेरै भए, तर विकासको गति सुस्त भएको हुनाले सीमित दल हँुदा विकासको गतिले तीव्रता लिनेछ । दलले बहुमत ल्याउने होडमा विकास कार्यलाई पहिलो प्राथमिकतामा राख्नेछ । सत्ता फेरबदलको राजनीति अन्त्य हुनेछ । दिगो र ठोस राजनीतिक दल अस्तित्वमा रहनेछ । त्यसकारण कांग्रेसले पनि एकताको राजनीतिलाई बढी जोड दिनु आवश्यक छ ।
– प्रमोद पौडेल
श्रीपुर–११, वीरगन्ज

चुनावको मुखमा आएर एमाले, माओवादी र जनशक्ति पार्टी मिलेर चुनावमा कांग्रेसलाई अंँठ्याउने खेलमात्र भयो भने देश फेरि जहांँको तहीं हुनेछ । समाज परिवर्तनको नाममा धोखा दिनेहरू नै देश निर्माणका अधिकारी बन्नु बाहेक अरू केही हुने छैन । कांग्रेस पार्टीमा चुप लागेर बसेका यथास्थितिवादीहरू कमल थापाको पार्टीलाई बोक्नेछन् र बल्ल प्राकृतिक गठबन्धन भयो भन्दै श्रीमान गम्भीरको राष्ट्रगान गाउनतिर लाग्नेछन् भने ०६२–६३ को आन्दोलन सम्झेर स्थानीय चुनावमा रेणु दाहाललाई भोट हाल्ने सामन्तवाद विरोधी कांग्रेसीहरू पश्चातापसहित चुप लागेर बस्नेछन् । स्थिर सरकारको नाममा प्रयोग हुनलागेको वामपन्थी, देशभक्तको गठबन्धन उही पुरानो राग देश बेचुवा र देश किनुवाको कित्ताकाटमा लाग्न उत्प्रेरित गीत अलाप्ने र उही समन्तवादको पक्षपोषण गर्नु बाहेक नौलो कुरा केही हुने छैन । समयले सबै कुरा सिकाउंँदै लगेको वर्तमान परिवेश अहिलेकै अवस्थामा चुनावमा जान उपयुक्त थियो । एमाले आफै सक्षम हुँदै थियो, बाबुराम टांँस्सिन परेको थिएन । प्रचण्डलाई मान्छेले क्रियाशील नेताको रूप स्वीकार्दै थिए । कांग्रेस नेताको यसै बिचल्ली थियो, अरू बिचल्ली बनाएर हांँस्नुपर्ने थिएन । कांग्रेसका अहिलेका नेताहरूले पार्टी सञ्चालन गर्न नजानेका हुन् । समाज परिवर्तनको दिशामा निरन्तर सम्झौताविहीन आन्दोलन गर्ने स्वतन्त्रता संग्राम सेनानी कांग्रेसीजन जीवितै थिए ।
– गोविन्दराज कोइराला
हर्कपुर, नवलपरासी


 अन्धविश्वास रोक्ने उपाय
नेपाल विशिष्ट पहिचान भएको मुलुक हो । यहाँका कला, संस्कृति, जाति, भेषभूषा विश्वकै निम्ति प्रेरणा र अध्ययनका विषय पनि हुन् । यति पृथक् पहिचान भएकै कारण हामी गर्वले नेपाली भन्नसकेका छौँ । यति विविध पहिचान र संस्कृतिसँगै हामीले अन्धविश्वासको ठूलै पोको पनि प्रचलनमा ल्याएका छौँ । हिँड्दै गर्दा बिरालोले बाटो काटेमा अशुभ हुने सम्झिएर फर्कने, हिँड्नै लाग्दा मानसिक सन्तुलन गुमाएका व्यक्ति देखे अशुभ हुने, घरमा कोही बारम्बार बिरामी भइरहेमा बोक्सीको आक्रमण सम्झने लगायतका कैयौँ अन्धविश्वास बोकेर हामी रुमलिरहेका छौँ । यस प्रकारका अन्धविश्वास सर्वसाधारण तह–तप्कादेखि राज्यका उच्च पदस्थ पदाधिकारिहरूमा समेत व्याप्त पाइन्छन् । यिनै साधारण लाग्ने अन्धविश्वास नै समाजका ठूलठूला अराजक घटनाका पृष्ठपोषण गर्ने सहायक हुन् । सरकारले आफ्नो ठूलो लगानी औपचारिक शिक्षामा गर्ने गरेको भए पनि यस प्रकारका घटनालाई निरुत्साहित गर्न सामाजिक एवं व्यावहारिक सांस्कृतिक ज्ञानको अभिवृद्धिका निम्ति भने हेक्का पुर्‍याएको देखिन्न । यसर्थ विद्वान गुरुहरूको कार्यशाला गराई उहाँहरूमार्फत यस प्रकारका कुरीतिलाई गलत सावित गराउन सकिए धेरै हदसम्म अन्धविश्वास हटाउन सहज हुने देखिन्छ । धामी–झाँक्री लगायतका पेसा अपनाएर बस्नेहरूलाई पनि उनीहरूको वाणीले पार्ने प्रभावबारे उचित मागर्निर्देश गरी बोलेका कुराप्रति पूर्ण जिम्मेवार बनाउने कानुनको निर्माण गर्नसके धामीहरूको निर्देशमा हुने हिंसालाई रोक्न सकिन्छ ।
– सौगात भट्टराई
विराटनगर महानगरपालिका, मोरङ


 तथ्य मिलेन कि ?
असोज ७ शनिबार कोसेलीमा प्रकाशित ‘२५० वर्षका २५’ चाख मानी पढियो । जुनसुकै प्रकारको चयनमा पनि विवाद उठ्न सक्ने भएकाले यो चयन पनि विवादरहित छैन । तर तथ्यमा चाहिँ गल्ती हुनु भएन । तथ्य पनि कहीँ–कहीँ अतथ्य भएको देखिएकाले उदाहरणका लागि केही लेख्दै छु । ६ पृष्ठमा छापिएको इतिहासका ‘स्कुल’कै कुरा गरुँ । त्यहाँ नयराज पन्त (१९७०– २०५९) द्वारा स्थापित संशोधन–मण्डलको विषयमा ‘धेरै विद्वान्ले भनेका छन्– नेपालमा इतिहासको क्षेत्रमा यदि कसैलाई विश्वास गर्नुपर्छ भने इतिहास संशोधन–मण्डललाई गर्नुपर्छ । विदेशी विद्वान्हरूको धारणा पनि छ । सिल्भा लेभी त्यस्तै लियो ई. रोज, पेट्रिकले यस्तै धारणा प्रस्तुत गरेका छन्’ भनी लेखिएको छ । नेपालको इतिहासमा धेरै काम गरेका सिल्भा लेभी वि.सं. १९१९ मा जन्मी १९९२ मा बितेकाले उनको नेपालसम्बन्धी पुस्तकका अघिल्ला २ भाग वि.सं. १९६२ र तेस्रो भाग वि.सं. १९६५ मा छापिएकाले वि.सं. २००९ देखि प्रकाशन गर्न लागेको संशोधन–मण्डलको विषयमा लेभीले बोल्नु सम्भव छैन । लेभीको नेपाल सम्बन्धी पुस्तकको तेस्रो भाग निस्कँदा संशोधन–मण्डलको प्रवर्तक नयराज पन्त जन्मन अझ ५ वर्ष बाँकी थियो । डिल्लीरमण रेग्मीले संशोधन–मण्डलको खोजीको विषयलाई अङ्ग्रेजीमा अनुवाद गरी प्रचार गरेको भन्ने आरोप संशोधन–मण्डलले लगाएको छ, त्यसलाई विश्वास गर्ने आधार भने छैनन् भनी त्यहाँ लेखिएको छ । यस विषयमा वि.सं. २०१७ देखि संशोधन–मण्डलले सप्रमाण लेख्दै आएकाले र अन्तिम पटक अति विस्तृत रूपमा वि.सं. २०६६ मा छापिएको पूर्णिमा १३१ पूर्णांकमा लेखिसकेकाले यस लेखका लेखकलाई राम्रोसँग विचार गरेर मात्र कलम चलाउन अनुरोध गर्छु ।
– रोशनी श्रेष्ठ
थानकोट, काठमाडौं

Page 7
विविधा

तालमेल : सम्भावना र चुनौती

- प्रा. कृष्ण पोखरेल
प्रा. कृष्ण पोखरेल

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति माझको तत्काल चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमतिको खबरले नेपालको राष्ट्रिय राजनीतिमा जस्तो धमाकापूर्ण ‘इन्ट्री’ गर्‍यो, त्यसले सिर्जना गरेको तरङ्ग थामिन केही समय लाग्ला । यो खबरभन्दा पनि यसको समय र हठात् प्रकटीकरणको गुञ्ज ठूलो देखिन्छ । वार्ता बीचैमा छाडेर प्रधानमन्त्री शेरबहादुर देउवाको मन छाम्न गएका प्रचण्डसँग उनले प्रचण्डको सिटसम्मको सुनिश्चितता गर्न सकिने जवाफ दिएबाट पनि आफ्नै नाकमुनि चलिरहेको यो खेलबाट उनी कति अन्जान रहेछन् भन्ने बुझिन्छ ।
यो सानो आलेखमा यो वाम तालमेल र एकताका सैद्धान्तिक–वैचारिक परिदृश्य र तिनका रौं–चिरा सवालमा केन्द्रित नभई यी ३ दल किन यो ठाउँसम्म आइपुगे र यसले नेपाली राजनीतिमा के कस्तो प्रभाव पर्नेछ र यसका सम्भावना र चुनौती के हुन सक्छन् भन्नेबारे छलफल गरिनेछ ।

सहमति किन ?
यतिबेला जतिसुकै कम्युनिस्ट एकताको महिमागान गरे पनि कसैले पत्याउँदैन । यदि साँच्चै कम्युनिस्ट एकताकै महान उद्देश्यबाट यो कार्य थालिएको हुँदो हो त त्यहाँ अन्य वाम पार्टीको प्रसङ्ग जोडिनुपथ्र्यो । खास कुरा त के हो भने यी तीनै दलसँग संसदीय राजनीतिको आगामी यात्राका लागि यो बाटो हिंँड्नुको विकल्प थिएन । वास्तवमा एमाले र खासगरी त्यसका अध्यक्ष केपी ओलीले चाहेको भए संविधान निर्माण लगत्तै आफ्नो नेतृत्वमा बनेको स्वाभाविक वाम गठबन्धनलाई प्रधानमन्त्रीको पद छाडेर पनि बचाउन सक्थे । तर त्यसबेला उनले के आंँकलन गरे भने निर्वाचनमा जनताले उनलाई विजय माला पहिर्‍याइहाल्छन् । जहाँसम्म माओवादी केन्द्रको कुरा छ, त्यसको त पत्तासाफ भइहाल्छ । तर स्थानीय तहको निर्वाचनले एमाले सबैभन्दा ठूलो पार्टी बने पनि माओवादीसँग सत्ताको चाबी रहने भयो । यदि यही स्थिति प्रदेश र केन्द्रको निर्वाचनमा दोहोरियो भने एमाले सबैभन्दा ठूलो पार्टी त बन्नसक्ने, तर सत्तासुखबाट बञ्चित रहने भयो । हो, यही गुह्य कारणले ऊ चुनावी तालमेल र एकताको प्रक्रियालाई तीव्रता दिन बाध्य भयो ।

जहाँसम्म माओवादी केन्द्रको कुरा छ, ऊ कांग्रेससँग गठबन्धनमा सामेल हुनुपरेको त्यसलाई स्वाभाविक मानेर भन्दा पनि एमालेको मेख मार्नका लागि थियो । त्यसैले प्रचण्डले यो गठबन्धनलाई वाम–लोकतान्त्रिक मात्र होइन, जनआन्दोलनको सहयात्रीको स्वाभाविक गठबन्धनको जलप पनि लगाउन खोजे । तर स्थानीय तहको निर्वाचनमा धाँधलीको निकै महंँगो आरोप खेपेर भरतपुरमा जित्नु बाहेक अन्यत्र प्राय: कांग्रेस–माओवादी केन्द्र चुनावी गठबन्धन उसका लागि फलिफाप भएन । फेरि २ नम्बर प्रदेशको चुनावमा माओवादी केन्द्रसँग तालमेलमा कांग्रेसको अनिच्छा र भरतपुर महानगरको कार्यकारिणीमा बहुमतका बाबजुद माओवादीलाई हराउने कांग्रेसी हरकतले माओवादीलाई सशंकित तुल्यायो । वास्तवमा सबैभन्दा ठूलो दबाब त नेतृत्वको ठूलो हिस्सा र कार्यकर्ता पंक्तिको थियो, जो यो गठबन्धनलाई पचाउन सकिरहेका थिएनन् । यस्तोमा यही गठबन्धनलाई निरन्तरता दिएर प्रदेश र केन्द्रको चुनावमा जाने अवस्था भएन । अत: उसमाथि पार्टी भित्रबाटै बाटो फेर्ने तीव्र दबाब पर्‍यो ।अर्कोतिर निकै तामझामसाथ थालिएको भए पनि डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई स्थानीय तहको निर्वाचनमा जनताले यसरी तिरस्कार गरे कि यसलाई कुनै न कुनै बैसाखी आवश्यक भइसकेको थियो । अझ संघीय समाजवादी फोरमसँगको एकता प्रयासको विफलता र पूर्व माओवादीको ठूलो समूहको बहिर्गमनले स्थिति झन् बिग्रियो । डा. भट्टराईका लागि त यो तालमेल र एकता आफ्नो असफल प्रयोगबाट सम्मानजनक बहिर्गमनको सुनौलो अवसर थियो । अन्यथा यो जन्ममा त के अर्को जन्ममा पनि प्रचण्डसँग सहकार्य गर्दिन भनेका मान्छे किन यो ठाउँमा पुग्थे ?

प्रभाव
प्रभावका प्रकटत: दुई आयाम छन् । पहिलो, तात्कालिक र अर्को दीर्घकालीन । हुन त यसको क्षेत्रीय आयामलाई पनि नजरअन्दाज गर्न सकिन्न । तात्कालिक रूपमा हिजोसम्म स्वाभाविकजस्तो लाग्ने वर्तमान सत्ता गठबन्धन आज हठात् अस्वाभाविक हुनपुगेको छ । प्रचण्डले यो सरकार निर्वाचनसम्म कायम रहन्छ भनी जति नै आश्वस्त पार्न खोजे पनि प्रधानमन्त्री देउवाको सरकारमाथि अनिश्चयको बादल मडारिएको छ । जसले जे भने पनि तोकिएकै मितिमा प्रदेश र केन्द्रको निर्वाचन नहुने हो कि भन्ने शंका उत्पन्न भएको छ । सहमति कार्यक्रममा यो कसैका विरुद्ध लक्षित छैन, सरकारको निरन्तरता रहनेछ भनी नेताहरूले पटक–पटक बोलेकोबाट पनि यो सरकारको निरन्तरतालाई आश्वस्त पार्न खोजेको बुझिन्छ । तर पनि कुनै कारणले चुनाव अनिश्चित भयो भने सरकार परिवर्तनको सम्भावनालाई पनि नकार्न सकिन्न । त्यस्तो अवस्थामा कांग्रेसले दुई ठूला दल एकसाथ सरकारमा सामेल हुनु हुँदैन भन्ने पुरानो ‘थेसिस’ सच्याएर सर्वदलीय सरकारमा सामेल हुने अवस्था आउन सक्छ । यो चुनावी तालमेलको वाम सहमतिले आफैंचाहिंँ आसन्न निर्वाचन पछि धकेल्ने कुनै हरकत अवश्य गर्ने छैन ।
बरु आवश्यक परे क्षति नियन्त्रणको कोसिस गर्नेछ ।जहाँसम्म दूरगामी प्रभावको कुरा छ, यदि यी ३ पार्टीको यो सहमति टिकाउ बन्यो भने यसले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने र स्थिर सरकार बन्ने अवस्था सिर्जना हुन्छ । यसले नेपाली कांग्रेसलाई पनि नयाँ सहयात्री खोज्न र नयाँ चुनावी गठबन्धनको बाटो रोज्न बाध्य पार्नेछ ।

सम्भावना
नेपाली मतदातामा जुन हदसम्म वामपन्थी कार्यसूचीप्रति लगाव देखिन्छ, त्यसलाई हेर्दा कम्युनिस्टहरूको बहुमतको सरकारको सम्भावना धेरै अघिदेखि थियो । उदाहरणका लािग यो सम्भावना २०५६ सालमा प्रस्टै देखिन्थ्यो, तर त्यसबेला एमालेको फुटले त्यसलाई धुलिसात गरिदियो । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनको लोकप्रिय मतलाई मात्र गणना गर्ने हो भने पनि त्यो कम्युनिस्टहरूका पक्षमा ६० प्रतिशतभन्दा बढी थियो । वस्तुत: जनताको विरलाकोटी देखिने यो समर्थनलाई पुँजीकृत गर्न नसक्नु कम्युनिस्टहरूको असक्षमताको पराकाष्ठा थियो । अत: यो सहमतिले प्रचण्ड जनसमर्थनको बलमा कम्युनिस्ट पार्टीको नेतृत्वमा टिकाउ सरकार बन्ने सम्भावनाको ढोका खोल्नेछ ।यो सहमतिले स्थिर सरकार बन्ने अवस्था पनि सिर्जना गर्नेछ । स्थिर सरकारले मुलुकमा नीतिगत स्थायित्वमात्र होइन, विकासको प्रक्रियालाई पनि तीव्रता दिने अवस्था आउँछ । यसले यो मुलुकलाई अविकासको दुष्चक्रबाट बाहिर निकाल्नेछ र जनतामा जुन जोगी आए पनि कानै चिरिएका भन्ने मनोदशाको अन्त्य गर्नेछ र तिनमा ब्याप्त निराशाको स्थानमा विश्वासको ऊर्जा भर्नेछ ।यसले छिमेकीहरूसँगको सम्बन्धमा हाम्रो निम्छरो उपस्थितिको पनि अन्त्य गर्नेछ, किनकि स्थिर सरकार भएको अवस्थामा हाम्रो प्रतिबद्धता विश्वसनीय बन्नेछ र एक छिमेकीको भयमा अर्को छिमेकीसँग गरिएका सम्झौताहरू असरल्ल छाड्ने बाध्यताको अन्त्य हुनेछ । संविधानले यो मुलुकलाई समाजवाद उन्मुख राज्य भनेको छ । हो, त्यसलाई यथार्थको धरातलमा ओर्‍हाल्ने यो राम्रो अवसर हुनसक्छ । संविधानमा उल्लिखित मौलिक हकलाई कार्यान्वयन गरेर जनसशक्तीकरणको उच्चतम अवस्था सिर्जना गर्न सकिन्छ । आखिर समाजवाद भनेको पनि त्यही जनसशक्तीकरणको सर्वोच्च अवस्था नै त हो ।

चुनौती
यो सहमतिको सबैभन्दा ठूलो चुनौती यिनै पार्टीहरूभित्र विद्यमान छ । वस्तुत: वाम एकता सुन्दा जति कर्णप्रिय लाग्छ, त्यसलाई व्यवहारको धरातलमा उतार्न त्यति नै कठिन छ । पहिलो चुनौती त ती पार्टीका आन्तरिक गुटबन्दी नै हुन् । ती चुनावी तालमेल र एकता गर्ने काम थाल्दा नै पनि छरपस्ट भएर बाहिर आउन सक्छन् । फेरि अलग–अलग पार्टी भएको अवस्थामा त अवसरको समन्यायिक वितरण गर्न नसकेर भित्री पार्टी असन्तुष्टि पालेर बसेका यिनले चुनावी तालमेल र एकताले स्वत: खुम्चिने अवसरका माझ असन्तुष्टिको व्यवस्थापन गर्न साँच्चै चुनौतीपूर्ण हुन्छ । दोस्रो, आज यी सबै पार्टीमा कम्युनिस्ट सिद्धान्त र आदर्शप्रति मोह भएका नेता तथा कार्यकर्ताको खडेरी नै छ । यस्तोमा तिनलाई आपसमा जोड्ने भनेकै अवसरले हो । त्यही अवसर घटेको अवस्थामा नेता तथा कार्यकर्ताको व्यवस्थापन कठिन देखिन्छ । तेस्रो, एमाले र माओवादीमाझ पार्टी स्कुलिङमै आकाश–जमिनको अन्तर छ । एमाले पुष्पलाल–मनमोहन स्कुलिङबाट बनेको हो भने माओवादी मोहन विक्रम–निर्मल लामा स्कुलिङको उपज हो । यसले पार्टी सञ्चालनकै मामिलामा पनि यिनका माझ प्रकट हुने सोचको भिन्नतालाई व्यवस्थापन गर्न चुनौतीपूर्ण देखिन्छ । नेपालमा कैयौंपटक पार्टीहरू आफ्नै कारणले मात्र फुटेका छैनन् । यो सहमतिबाट नोक्सानमा पर्ने पार्टी बाहिरका शक्तिहरूले तालमेल र एकताका कारण अपेक्षित अवसर नपाएकाहरूको असन्तुष्टिसँग खेल्ने अवस्था रहन्छ नै । विगतमा एमाले यस्तै कारणले फुटेको तितो अनुभव छ । राष्ट्रिय मामिलामा मात्र होइन, पार्टीहरू माझको आन्तरिक समीकरणमा समेत खेल्ने शक्ति यहाँ छन् । कोही हाम्रो आन्तरिक मामिलामा ‘हेडमास्टर’ बन्ने कोसिस नगरोस् भन्ने अभिव्यक्ति दिनासाथ उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम कति टुक्रामा बाँडियो, त्यो कसैबाट लुकेको छैन । यतिबेला यो यथार्थलाई पनि नजरअन्दाज गर्न सकिन्न ।

निष्कर्ष
चुनौतीलाई पन्छाउँदै जानु र अवसरको सदुपयोग गर्दै जान सक्नुमा नै यो सहमतिको भविष्य निर्भर गर्छ । आहानै छ– सानो चित्तले बोसो पाक्दैन । यी तीनै पार्टीका मुख्य नेताहरूले जति ठूलो चित्त बनाउन सक्छन्, कुशलता प्रदर्शन गर्न सक्छन् र फराकिलो छाती बनाउन सक्छन्, त्यसैमा यो तालमेल र आसन्न एकताको भविष्य छ । वास्तवमा अब अवसरको मात्र होइन, चुनौतीको पनि उल्टो गिन्ती सुरु भइसकेको छ ।
[email protected]

विविधा

वाम एकता र कांग्रेस

- किशोर नेपाल
किशोर नेपाल

नेपाली समाजमा मंगलबारलाई कडा मानिन्छ । भनिन्छ, मंगलबार जे पनि शुभ–काम हुन्छ, त्यसको परिणति निकै कडा हुन्छ । गत मंगलबार नेपालका दुई ठूला मानिने वाम राजनीतिक शक्ति नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल माओवादी केन्द्र तथा संविधान लागू हुने बित्तिकै माओवादीबाट अलग्गिएका डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता स्थापित भएको छ । तर यो एकतासँंगै राजनीतिक संकट पनि जोरिएर आएको छ । राजनीतिक विकासक्रममा ‘मंगलबारे एकता’को प्रमुख सूत्रधार मानिएको माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक राजनीतिक प्रक्रियाको पुरै उल्लंघन गरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सत्ता गठबन्धन क्रियाशील रहेका बेला, गठबन्धनलाई यथावत राखेर उनी नयाँ चुनावी गठबन्धनमा प्रवेश गरेका छन् । यो सर्वथा अनैतिक सवाल हो । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई कसरी हेरेका छन् ? त्यो उनको विवेकको विषय हो । प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसका नेताहरूलाई प्रचण्डले चुनावसम्म गठबन्धन कायम रहनेमा आश्वस्त गराएको समाचार आएको छ । यो सत्य हो भने प्रचण्डको यो आश्वासनले नेपाली कांग्रेसजस्तो राजनीतिक दलको पुरै अपमान गरेको छ । यो अवस्थामा प्रधानमन्त्री देउवाले या त सम्मानपूर्वक राजीनामा गरेर निर्वाचन अभियानमा लाग्नुपर्छ । होइन, उनका लागि सरकार छाड्नु कठिन छ भने माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेर अगाडि बढ्नुपर्छ । सरकारसँग गठबन्धनमा रहेको प्रमुख वामपन्थी पार्टी प्रतिपक्षका रूपमा रहेको अर्को प्रमुख प्रतिपक्षी पार्टीसँंग चुनावी वा संगठनात्मक, जुनसुकै एकतामा गए पनि त्यो सरकारको नेतृत्व लिने पार्टीका लागि प्रत्युत्पादक नै हुन्छ । प्रचण्डले वामपन्थी एकताको प्रस्ताव गर्दा सरकार छाडेका भए त्यसले उनको राजनीतिक कद बढाउने थियो । उनी त्यसको प्रतिकूल भूमिकामा ओर्लिएका छन् । अर्कोतिर सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसले सरकारको नेतृत्व छाडेर वैकल्पिक शक्तिको निर्माणमा लाग्नुपथ्र्यो । यी दुवै काम नभएको अवस्थामा शंका बढेर गएको छ ।

सरकारमा नबसेसम्म चुनावमा उठ्न नसकिने मानसिकताले थिचिएका छन्, नेपाली नेताहरू । यो अवस्थामा प्रचण्ड सरकारबाट बाहिर निस्किन नचाहनु अस्वाभाविक नहोला । तर सरकार ढल्ने डरले कांग्रेसले माओवादीलाई सरकारबाट ननिकाल्ने हो भने देउवाले जुन सरकारको नेतृत्व गरेका छन्, त्यही सरकारको प्रयोग उनले नेतृत्व गरेको पार्टीका विरुद्ध हुनेछ । यो विकट अवस्थामा पर्नुभन्दा पहिले नै कांग्रेस यसबाट बाहिरिनु उचित हुनेछ । कांग्रेसले जतिसुकै राम्रो काम गरेको भए पनि जनमत उसको पक्षमा आउने समय यो होइन । त्यसमाथि कांग्रेसले जनताको पक्षमा त्यस्तो विजोडा काम केही गरेको छैन, जसलाई सम्झेर जनता कांग्रेसका पक्षमा सडकमा ओर्लियोस् । त्यसमाथि घटनाक्रमले दैनिक राजनीतिमा त्यति सरोकार पनि राख्दैन ।नेपालको वाम राजनीतिमा पार्टी एकता र विभाजन कुनै नौलो उपक्रम होइन । नेपालका वामपन्थी पार्टीहरूबीच एकता संँगसँंगै विभाजन पनि सुरु हुने गरेको छ । सुरुमा सिंगो–सग्लो जन्मिएको नेपाल कम्युनिस्ट पार्टीको नामका अगाडि र पछाडि स्थापना कालदेखि जोडिएका अनेकौं सर्ग र विसर्गले नै यो सत्यको उद्घाटन गरिहालेका छन् । यसो भन्दाभन्दै पनि मंगलबारको त्रि–दलीय वाम एकताको आधार भने केही दह्रो देखिएको छ । यो वाम एकताले नेपालका वामपन्थी शक्तिलाई राजा महेन्द्रद्वारा संसदीय व्यवस्था अपहरित भएपछिको राष्ट्रवादी राजनीतिक धरातलमा उभ्याएको छ । त्यो धरातल र अहिलेको राष्ट्रवादी धरातलबीच खासै अन्तर छैन । त्यतिखेरको चीन राजनीतिक रूपले शक्तिशाली थियो । दुर्भाग्यवश, यो अचेलको जस्तो आर्थिक रूपले सम्पन्न थिएन । आर्थिक शक्तिको प्रयोगद्वारा ठूला परिवर्तन गराउन सक्ने तहमा छ ।

भारतको सुस्त सहयोग, उपेक्षापूर्ण व्यवहार र रित्तो आश्वासनबाट उक्ताएका नेपाली नेताहरू चिनियाँ समृद्धिबाट अत्यन्त आकर्षित भएका छन् । कसैगरी चीनले त्यो समृद्धिको एकै छिटोमात्र पनि नेपालतिर छरिदिए भने नेपालको उन्नति भइहाल्नेछ भन्ने चिन्तन हरेक तहका नेपाली नेताले गरेका छन् । तर यो चिन्तन कुनै आधारमा टिकेको देखिँदैन । चीन र भारतका सिमानामा बेला–बेला विवाद चर्किए पनि ती विवादहरू हामीले सोचेको जस्तो ‘हानाहान’को अवस्थामा पुग्दैनन् । ती दुवै देश विशाल छन् र आर्थिक र व्यापारिक हिसाबले एकअर्काका सहयोगी बन्न चाहन्छन् । नजिकको छिमेकी नेपालमा रेल दौडाउने रहर राखेको छ, चीनले । तर उसका लागि नेपालमा रेल कुदाउन चाहिने बाटो नै साँघुरो छ । जुन दिनसम्म चिनियाँ रेल नेपाल हुँदै भारतका ठूला सहरमा पुग्ने बाटो फराकिलो बन्दैन, त्यस दिनसम्म नेपालमा चिनियाँ रेल कुद्दैन । यो तथ्य एमाले र माकेका अध्यक्षले पक्कै बुझेको हुनुपर्छ ।

शक्ति र सत्ताको चरम सुखभोग गर्न नपाएका दुई कम्युनिस्ट नेता एमाले अध्यक्ष ओली र माके अध्यक्ष दाहाल तथा उहिल्यै सत्ताविना केही गर्न सकिन्न भन्ने निष्कर्षमा पुगेका भट्टराईले यतिखेरको निसाना चुनावलाई बनाएका छन् । स्थुल रूपमा यसलाई दुई प्रमुख कम्युनिस्ट पार्टी बीचको सांगठनिक एकता भनिए पनि अहिलेका लागि यो चुनावी तालमेल मात्र हो । यसले एमाले पार्टीको मौलिक चरित्र नै सखाप हुने हो कि भनेर तर्सिएका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफ्नो फेसबुक पोष्टमा एमालेका बौद्धिक नेता प्रदीप नेपालले बुधबार लेखेका छन्, ‘नआत्तिनुस्, अहिलेको एकता सूर्य चिन्ह अर्थात् चुनावका लागि हो । पार्टी एकता हुँदैन । चुनावी एकता प्राकृतिक हो । यस्तो काम हामीले २०४८ सालको संसदीय चुनावमा पनि गरेका थियौं ।’

ठिक यही कुरा माओवादी केन्द्रका हकमा पनि लागू हुन्छ । एमालेसंँग मेलजोलको अहिलेको प्रयासमा प्रचण्डको अन्तरात्माको स्वरमा अरू कैयौं स्वर मिसिएका छन् । उनका लागि अहिलेको यो एकता सुविधामात्रै नभएर बाध्यता पनि हो भन्ने जान्न त्यति धेरै मिहेनत गर्नु पर्दैन । उनले एकताको नाउँमा चर्को दाउको जुवा खेलेका छन् । जुवाको खेल सोचेको टुंगोमा पुग्दा फाइदामात्र नहुन सक्छ । प्रचण्डको ‘बडी ल्याङवेज’ उनको शक्ति र कमजोरी दुवै हो । अहिलेको वाम राजनीति बुझ्न उनको बडी ल्याङवेज बुझ्नु आवश्यक छ ।आउँदो प्रादेशिक र संसदीय निर्वाचनमा यो गठबन्धनले दुई तिहाइ मतसहित विजय प्राप्त गर्न सक्यो भने यो एकताको सार्थकता पक्कै स्थापित हुनेछ । त्यतिखेर पार्टी एकतामा भन्दा पनि केन्द्र र प्रादेशिक सरकार प्रमुख, मन्त्री र अन्य महत्त्वपूर्ण राजनीतिक पदका लागि नेतृत्वबीच हुने प्रतिस्पर्धा निश्चय पनि कटु हुनेछ । प्रादेशिक र संघीय प्रतिस्पर्धाको भुमरीबाट कुनै पार्टी पनि उम्किन सक्दैन । किनभने अहिले जो–जो उम्मेदवार सूर्य चिन्हको छहारीमा रहनेछन्, तिनीहरूको स्थिति सूर्य चिन्हको छहारीमा नरहेकाहरूको भन्दा अलग हुनेछ ।दुई ठूला वामपन्थी दलको सांगठनिक वा चुनावी एकताले राजनीतिक बजार गरम भएको यो अवस्थामा साना आकारका वामपन्थी पसल कति बन्द हुनेछन्, त्यो भन्नु सहज छैन । बजार सिद्धान्तको मुख्य कुरो आकर्षण हो । ठूला डिपार्टमेन्टल स्टोरले आकर्षित गर्न नसके साना पसलहरूको महत्त्व ह्वात्तै बढ्छ । तर नेपाली बजारमा वामपन्थीहरूको मात्रै वर्चस्व छैन । यहाँको बजारमा एउटा स्टोर कांग्रेसको पनि छ, जो अहिलेसम्म राम्रै चलेको छ । वामपन्थी एकताको अहिलेको अभियान सम्पूर्ण हिसाबले कांग्रेसको शक्ति खोस्ने व्यूह रचना पनि बनेको छ । शेरबहादुर र शशांक कोइरालाको वृत्तमा रहेका कार्यकर्ताहरूले यो कुरा बुझ्नसके निश्चय पनि अहिलेको कथित राजनीतिक ध्रुवीकरणको राप र तापबाट कांग्रेस जोगिनेछ ।

विविधा

समीकरण फेरिँदो राजनीति

- श्रीकृष्ण अनिरुद्ध गौतम
श्रीकृष्ण अनिरुद्ध गौतम

राजनीतिक समीकरणमा अकस्मात ठूलो फेरबदल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्डले फेरि कित्ता फेरेका छन् । फेरि किन भनेको भने उनी एक ठाउँमा दिगो बस्नै सक्दैनन् । चराको गँुड बरु दिगो हुन्छ, उनको हँुदैन । उनी कहिले यो पाखो त कहिले ऊ पाखो गरिरहेका हुन्छन् । दिल्ली पुग्दा दिल्लीकै, बेइजिङ पुगे त्यतैका हुन्छन् । तर विचित्र के भने जहाँ केही समय बस्छन्, त्यो ठाउँ छोड्दा त्यहाँ क्षति नगराई छाड्दैनन्, विचल्ली बनाएर छाडिदिन्छन् । आफू प्रधानमन्त्री बन्ने लालचमा केपी शर्मा ओलीलाई छाडेर उनले शेरबहादुर देउवालाई समाएका थिए । जाँदाजाँदै ओलीले त्यतिखेर अरुणा लामाको गीत सम्झेका थिए । तर यतिखेर दाहालले फेरि कित्ता फेरेपछि देउवा बिचरा कुनै गीत सम्झन त परै खासै बोल्न पनि सकिरहेका छैनन् ।
यसमा दुई मत छैन, दुनियाँमा औसत किसिमका मानिसको ठ्याक्कै दाहालकै जस्तो स्वभाव हुन्छ । तिनका सम्बन्धहरू निहित स्वार्थमा आधारित हुन्छन्, तात्कालिक लाभको लोभमा नजिकिने र फेरि अर्काले लोभ देखाए त्यतै लहसिने । पछिल्लो समयमा उनले जति मिठो गरी भाषण गरे पनि, देशको समृद्धि र उन्नतिबारे उम्दा शब्द चयन गर्दै बोले पनि दाहाललाई दुर्भाग्यवश एउटा औसत र सत्ताका लालची मानिसकै रूपमा चिन्न थालिएको छ, यद्यपि यसपालि दाहाल बृहत् वाम एकताको कलेवरमा कांग्रेसलाई छाडेर एमालेको शिविरमा प्रवेश गरेका हुन् । हुनसक्छ, उनी गम्भीर नै छन्, तर उनले जतिसुकै परिपाठ पारेर बोले पनि धेरैजसोले बृहत् वामपन्थी एकताको तर्कलाई गम्भीरतापूर्वक लिएका छैनन् । घटना गम्भीर र दूरगामी महत्त्वको हो, तर दाहालको ढोका–ढोका चहारिरहने प्रवृत्तिका कारण एमालेसँग चुनावी तालमेलसम्म पत्याए पनि एकतै भइहाल्ला भनेर कमैले मात्र पत्याएका छन् ।

निश्चय नै कुनै दलले अर्को कुनै दल अथवा दलहरूसित चिरकाल पर्यन्त सहकार्य गरिरहनुपर्छ भन्ने हँुदैन । त्यसमाथि कांग्रेस–माओवादी गठबन्धन सैद्धान्तिक हिसाबले विपरीत, व्यावहारिक हिसाबले अपवित्र र दुबैतर्फका कार्यकर्ताका लागि अपमानजनक थियो । कांग्रेसको कुनै पनि निष्ठावान मतदाताले कम्युनिस्ट, त्यसमाथि माओवादीलाई मत दिनै सक्दैन, त्यस्तै माओवादी समर्थक मतदाताको मन कांग्रेसलाई भोट दिन मान्नै सक्दैन । त्यसैले त्यस्तो गठबन्धन बन्नै हँुदैनथ्यो । बने पनि दिगो हुन सक्दैनथ्यो । अहिले परिणाम सामुन्ने छ, कांग्रेस–माओवादी गठबन्धनले स्थानीय तहको निर्वाचन रोएर पार गर्‍यो । गठबन्धन कायमै रहेको भए प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका लागि परिणाम अरू अप्रिय हुनसक्थ्यो ।

त्यसैले दाहालले देउवाको साथ छाडेर कांग्रेसका निष्ठावान मतदातालाई सजिलो बनाइदिएका छन् । देउवा–दाहाल गठबन्धन मन्त्री बन्ने पात्रहरूका लागि प्रिय भए पनि त्यो मतदाता–मैत्री थिएन । तर कुरा यति हो, जतिसुकै अमिल्दो साथ रोजिएको भए पनि छाड्ने बेला मन नै अमिलिनेगरी सम्बन्ध तोड्नु हुँदैन । किनभने यसले धोका खानेको भन्दा धोका दिनेको विश्वसनीयता घटेर जान्छ । दाहालले आफैं सोचुन्, ओलीलाई छाडेर उनले देउवाको दौरा समाउँदा ओलीको ओज गिरेको थिएन, उनकै नूर गिरेको थियो । अहिले देउवालाई छाड्दा पनि उनले आफ्नो अविश्वसनीय स्वभाव नै दोहोर्‍याएका छन् । के छ कुन्नि दाहालको व्यक्तित्वको बनोटमा, उनले जहिल्यै पनि आफ्नो अनुकूलता मात्र हेरेका छन्, उनी जसलाई छाड्छन्, रुवाएरै छाड्ने गरेका छन् ।

हो, जीवनका अरू क्षेत्रमा जस्तै राजनीतिमा पनि साथी फेर्न पाइन्छ र फेरिन्छ । फरक बाटो रोज्न पाइन्छ । तर व्यक्तिगत मित्रतामा जस्तै राजनीतिका पनि केही आधारभूत मूल्य र मान्यता हुन्छन् । ती आधारभूत मूल्य र मान्यताकै लिकमा सम्बन्ध परिभाषित हुनुपर्छ, राजनीति चल्नुपर्छ, चलेन भने त्यस्तो राजनीति स्थायी हुँदैन । दाहाल आफैंले आफ्नो राजनीतिक यात्राको अन्तरनिरीक्षण गरे भने उनी आफैंमा प्रशस्तै सैद्धान्तिक र व्यावहारिक विचलनका आयाम फेला पार्नेछन् । जस्तै, दाहालसित परिवर्तनको एजेन्डामा सहकार्य गरेका कांग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालका प्रथम राष्ट्रपति बनाउने आफ्नै वाचाबाट उनी पछि हटेका थिए । कोइरालाले मनमनै दाहालको त्यो व्यवहारलाई विश्वासघातका रूपमा पालेका थिए र विश्वासघातको त्यो घाउसँगै उनको देहावसान भएको थियो । मूल्य र मान्यताबाट च्युत राजनीतिमा भने निश्चय नै साथीलाई के असर पर्छ भनेर सोचिँदैन, केवल आफू अगाडिको भाग र स्वार्थमात्र हेरिन्छ । मान्यता च्युत मित्रतामा होस् अथवा राजनीतिमा आफूले आश्वस्त पारेको मित्र अथवा पक्षलाई माझधारमा छाडेर आफ्नो दुनो सोझ्याइन्छ । मूल्य–मान्यताबाट च्युत व्यक्तिगत व्यवहारमा होस् अथवा राजनीतिमा वाचाबन्धन तोड्नु सामान्य मानिन्छ । त्यस्ता मानिसको उदाहरण दिनुपर्दा अचेल दाहालको नाम लिइन्छ, किनभने उनको राजनीतिमा पनि आधारभूत मूल्य र मान्यताको कुनै स्थान हुने गर्दैन भन्ने देखिएको छ । यो अहिले नै किन भन्नुपरेको हो भने चुनावी तालमेल र बृहत्तर वाम एकता भन्न जति सजिलो छ, यसलाई आकार दिन त्यति नै मुस्किल छ । यहाँ ख्याल रहोस्, एमाले पंक्तिले पनि उनलाई सहजै अंकमाल गर्दैन । त्यहाँ पनि प्रशस्तै तलमाथि र तनाव हुनेछ । उनले भनेजस्तै, सोचेजस्तै ठ्याक्कै वाम एकता भए पनि हँुदैन ।

यहाँ एकोहोरो दाहाललाई तारो बनाइएको नठानियोस्, किनभने कित्ता फेर्ने मामिलामा दाहालमात्रै अपवाद होइनन् । जहाँको राजनीतिको केन्द्रीय भावमा सदाचार र नैतिकताका लागि कुनै स्थान हुँदैन, त्यहाँ हुने भनेको यही र यस्तै हो । यहाँ सम्झाइरहनु नपर्ला, ऐनमौकामा कांग्रेसले पनि एमालेसित गरेको भद्र सहमति तोडेकै हो र एमालेले माओवादीसित गरेको वाचा पनि बिर्सेकै हो । दोस्रो संविधानसभाको निर्वाचनपछि कांग्रेस–एमालेको सरकार बन्दा संविधान ल्याउन्जेल कांग्रेसको नेतृत्वमा सरकार चलाउने, संविधान ल्याएपछि एमालेलाई नेतृत्व दिने भन्ने भद्र सहमति भएकै हो । त्यही वाचाबन्धन अनुसार कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । तर संविधान जारी भएपश्चात् कथित भद्र सहमति अभद्रतामा परिणत भएको थियो । त्यसरी नै एमालेलाई सरकार बनाउन माओवादीले सहयोग गर्दा केही अघोषित भद्र सहमति भएका थिए । माओवादीले ती सहमतिको पालना भएन भन्दै सरकारबाट समर्थन फिर्ता लिएको र त्यस अवसरमा कांग्रेसले दाहाललाई पहिला प्रधानमन्त्री र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई पालो दिने सहमति बमोजिम नै पहिला दाहालको र त्यसपछि देउवाको नेतृत्वमा सरकार बनेको हो । तर माओवादीले देउवासँग सरकारमा बसिबसी आगामी मंसिरमा हुने प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि एमालेसँग चुनावी तालमेल गर्ने उद्घोष गरेको छ । निश्चय नै दाहालले पहिला देउवासँग गठबन्धन तोडेर एमालेसँग समझदारीको घोषणा गरेका हुन्थे भने दुई कम्युनिस्ट बीचको चुनावी तालमेल र भावी एकतालाई स्वाभाविक र सहज रूपमा लिइन्थ्यो ।

तथापि व्यवहार र प्रवृत्तिगत विषयमा प्रशस्तै आलोचनाका ठाउँ भए पनि चुनावपूर्व गरिने दलीय तालमेललाई अभ्यासका हिसाबले स्वस्थ मानिन्छ र मान्नुपर्छ, किनभने यसले जनादेशको अपमान हुँदैन । तर त्यसरी जनादेश लिइसकेपछि त्यसलाई आवधिक जनादेश मान्नुपर्छ । भोट माग्ने बेला तालमेल तर चुनावपछि आफूखुसी नयाँ गठबन्धन बनाउने र तोड्ने गरियो भने प्रणाली अरू फोहोरी बन्न जान्छ । राजनीतिको ध्येय निश्चय नै स्थायित्व सुनिश्चित गर्नु र समृद्धिका लागि मार्गप्रशस्त गर्नु हो । तर यसमा सदाचार र सच्चरित्रता रहेन भने स्थायित्व र समृद्धि खोक्रो नारामात्र बन्न जान्छ । त्यसैले बृहत्तर एकता अथवा गठबन्धनको मार्गचित्र तयार गरिरहँदा तालमेल गरेर मात्र हँुदैन, राजनीतिमाथि दुष्प्रवृत्ति हावी हुने छिद्रहरू पनि बन्द गरिनुपर्छ ।

Page 8
शैली

पद्मश्री सम्मान प्रदान

- कान्तिपुर संवाददाता
राजधानीको रुसी सांस्कृतिक केन्द्रमा बिहीबार पद्मश्री सम्मान वितरण समारोहमा (बायाँबाट) कवि नवराज पराजुली, वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा, खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेलगायत । तस्बिर : कबिन अधिकारी/कान्तिपुर

काठमाडौं– पाँच दशकदेखि साहित्यिक पत्रकारितामार्फत साहित्यको सेवा गर्दै आएका रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बिहीबार राजधानीमा ताम्रपत्रसहित सम्मान प्रदान गरे । दुई लाख रुपैयाँ रहेको सम्मान संयुक्त रूपमा दिइएको हो । समारोहमा अनुपस्थित घिमिरेका तर्फबाट भने उनका छोराले सम्मान ग्रहण गरे ।यसैगरी, कवि नवराज पराजुलीलाई उनको कविताकृति ‘सगरमाथाको गहिराइ’ का लागि ‘पद्मश्री साहित्य सम्मान’ दिइयो । लामिछानेले दुई लाख रुपैयाँसहित ताम्रपत्र पराजुलीलाई प्रदान गरे ।रोचक घिमिरेले २०१८ मा थालेको ‘रचना’ र नगेन्द्रराज शर्माले २०२७ मा सुरु गरेको ‘अभिव्यक्ति’ को सम्पादन र प्रकाशन अहिले पनि निरन्तर छ । २०२७ तिरै केही कथा, कविता प्रकाशित गरिसकेका शर्माले साहित्यिक पत्रकारिता रहरले थालेको उल्लेख गर्दै थपे, ‘एउटा रहर, लहड, भाषासाहित्यप्रतिको अगाध आसक्ति र सेवाभावबाट प्रेरित भएर मैले ‘अभिव्यक्ति’ को प्रकाशन सुरु गरेको हुँ । त्यस बेलाका प्रचलित साहित्यिक पत्रिकाहरूभन्दा अलिक बेग्लै र आकर्षक बनाउने चाहनामा मैले केही प्रयोग थालेको थिएँ । व्यंग्यचित्र, स्वदेशका नै वरिष्ठ/कनिष्ठ साहित्यकारहरूका घतलाग्दा उक्तिहरू र राजधानीका स्थापित साहित्यकारहरूभन्दा सकेसम्म मोफसलका उदीयमान साहित्यकारहरूका रचनालाई प्राथमिकताका साथ छापेँ ।’ ‘अभिव्यक्ति’ चलाउन खासै दु:ख बेहोर्नु नपरेको पनि उनले सुनाए । ‘पत्रिकामा छाप्नको लागि कविता, लेख, रचनाहरूको ओइरो नै लाग्थ्यो, रचना माग्न मैले कसैकहाँ धाउनुपरेन,’ उनले भने, ‘घामपानी नभनी प्रेसमा धाउनु र कहिलेकाहीं खल्तीबाट केही पैसा लगाउनुलाई मैले ठूलो कष्ट मानिनँ । यो काम मैले स्वेच्छाले स्वीकारेकोले यसप्रति कुनै गुनासो छैन । बरु ती सबै दु:खकष्ट झेलेर आज यो मुकाममा आइपुगेपछि विगत सम्झिँदा गर्दा बडो सुखकर लागिरहेको छ ।’

कवि पराजुलीले मन्तव्यपछि कविता सुनाए । उनी ‘रुख’ वाचन गर्दै थिए :दाह्रीका खुट्टा काट्न खोज्दा मेरा हात कामेर कतै न कतै गालाको अनुहार काटिन्छ आजभोलि गालाहरू गुनासो गर्छन् सोध्छन्, फिटकिरी लगाइदिएर दुखाई सिलाइदिने आंैलाहरू खोई ? मैले तिमी गएपछि मात्रै थाहा पाएको हुँ कि घाम अस्ताउँदो पनि रहेछ... श्रीमती गुमाएका वृद्धको कथाव्यथा समेटिएको उनको कविता सुनेर केही दर्शकका
आँखा रसाए ।विज्ञान, सूचना तथा प्रविधिले अकल्पनीय फडको मार्दै गइरहँदासमेत साहित्यिक पत्रिकाको परम्परा कायम राखेकोले दुई घिमिरे र शर्मालाई सम्मान गरेको प्रतिष्ठान अध्यक्ष लामिछानेले बताए । त्यस्तै, सरल भाषामा लोभलाग्दा विम्बहरू बुनेर
मानवीय चेतनाको भित्री तहसम्म झंकृत गर्ने क्षमता भएकोले ‘सगरमाथाको गहिराइ’ लाई पुरस्कृत गरेको उनले सुनाए ।

शैली

आशावादी अशिष्मा

- शंकर आचार्य
‘मेला’ नौलो कथावस्तु बोकेको यथार्थपरक फिल्म हो । मैले यसमा सशक्त भूमिका निभाउने अवसर पनि पाएकी छु । यसले दर्शकको मन जित्छ र म कलिउडमा झनै स्थापित हुन्छुजस्तो लाग्छ ।-अशिष्मा नकर्मी नायिका

पर्सा– अशिष्मा नकर्मी पछिल्लो समय आशलाग्दी नायिकाको रूपमा देखा परेकी छन् । वीरगन्जको सेरोफेरोमा छायांकन भएको ‘संरक्षण’ रिलिज भएलगत्तै अर्को फिल्म ‘जस्मिन’ को छायांकनका लागि हालै उनी यतै आएकी थिइन् । रिलिजको संघारमा रहेको ‘मेला’ बाट उनलाई धेरै आशा छ । वीरगन्जमै छायांकन भएको आफ्नो यो दोस्रो फिल्ममा हालसम्मकै सशक्त भूमिका रहेको उनको दाबी छ । “एक त ‘मेला’ नौलो र फरक कथावस्तु बोकेको यथार्थपरक फिल्म हो,’ एक महिनापछि रिलिज हुने तरखरमा रहेको फिल्मबारे उनले कान्तिपुरसँग भनिन्, ‘मैले यसमा सशक्त भूमिका निभाउने अवसर पनि पाएकी छु । यसले दर्शकको मन जित्ने र आफू कलिउडमा झनै स्थापित हुन्छुजस्तो लाग्छ ।’
सलोन बस्नेत, आमेश भण्डारी, प्रदेशी साह, अमर गौतमको पनि मुख्य भूमिका रहेको यो फिल्मको छायांकन गतवर्ष वीरगन्जकै सेरोफेरोमा गरिएको थियो ।चार वर्षअघि ‘अन्तराल’ बाट कलिउडमा डेब्यु गरेकी अशिष्माको पहिलो फिल्मले व्यावसायिक सफलता नपाए पनि समीक्षकको प्रशंसा भने बटुलेको थियो । त्यसयता ‘राघव’, ‘बाटोमुनिको फुल २’, ‘अधकट्टी’, ‘लभ यु बाबा’, ‘बुद्ध बर्न इन नेपाल’, ‘राधे’ र ‘संरक्षण’ मा खेलिन् । छायांकन चलिरहेको ‘जस्मिन’ को काम सकिएलगत्तै ‘मेला’ रिलिज हँुदैछ । हालै दुइटा फिल्म साइन गरिसकेकी उनी दसंैलगत्तै तिनको छायांकनमा व्यस्त हुनेछिन् । ‘व्यावसायिक गोपनीयताको कारण’ उनले ती फिल्मको नाम र निर्माण युनिटबारे खुलाउन चाहिनन् । कलिउड प्रवेशअघि नेपाल भाषाका एक दर्जनजति फिल्ममा अभिनय गरिसकेकी अशिष्माले अभिनयको औपचारिक शिक्षा नलिए पनि सविन शाक्य र आर्यन नकर्मीबाट अभिनयका धेरै सीप सिकिन् । उनी ‘मह जोडी’ लाई आफ्नो आइडल मान्छिन् । चेतनामूलक टेलिशृंखला ‘विष’ मा मह जोडीसँग खेल्ने अवसर पाएकी उनी आफूलाई त्यसका लागि भाग्यमानी ठान्छिन् । राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल, विराज भट्ट, निखिल उप्रेती, सञ्चिता लुइँटेल, केकी अधिकारी, प्रियंका कार्की पनि उनका प्रिय कलाकार हुन् । अविवाहित यी नायिकाले विगतमा आफू कसैसँग गहिरो मायामा परे पनि हाल भने फिल्म क्षेत्रसँग ‘डिप लभ’ मा रहेको बताइन् । ‘आफूमा सक्दो सुधार गरेर अब्बल अभिनय गर्ने प्रयासमा लागिपरेकै छु,’ उनले सुनाइन् । अनि विवाह ? उनको जवाफ थियो, ‘विवाहको बेला भइसकेको छैन । तर, मैले सोचेजस्तो योग्य व्यक्ति पाए यसमा पुनर्विचार गर्न पनि सक्छु ।’ आफू कुनै न कुनै फिल्मको छायांकनका क्रममा वीरगन्ज आइरहे पनि स्थानीय दर्शकले भने नेपाली फिल्म उति हेर्ने गरेको आफूले नपाएको र यसमा दु:ख लागेको उनले बताइन् । ‘नेपाली फिल्मलाई पनि माया गर्नुपर्छ,’ उनले सुझाइन्, ‘३ करोडजति नेपालीले एक पटक हेरिदिने हो भने कुनै पनि नेपाली फिल्म व्यावसायिक रूपमा असफल हुने छैन ।’

शैली

“क्लिनिकल रिसर्चर” सुन्दरी

- नवीन पोखरेल
‘मिस यूकेनेपाल’ सिर्जना गुरुङ । तस्बिर : मिलन तमु

लन्डन– पेसाले ‘क्लिनिकल रिसर्चर’ हुन् उनी । प्यारेक्सेल इन्टरनेसनल कम्पनीमा जागिरे सिर्जना गुरुङको परिचय अचेल थपिएको छ । जनमानस उनलाई ‘मिस यूके नेपाल’ बाट बढी चिन्छन् ।‘उपाधि जित्छु भन्ने पटक्कै थिएन,’ छुट्टीका बेला लन्डनको साउथ हयारोमा भेटिएकी सिर्जनाले सुनाइन्, ‘टाइटल जित्छुभन्दा पनि यो प्रतिस्पर्धा हो, हारजित भइहाल्छ भन्ने लागेको थियो । मेरो लागि सहभागिता नै जिते बराबर थियो, किनकि यसका लागि साहस चाहिन्थ्यो र यसबाट मैले धेरै कुरा सिकेकी थिएँ ।’ पूर्वमिस नेपाल माल्भिका सुब्बा कोरियोग्राफर भएकाले फिनालेअघि पनि उनको लेक्चर, ‘पर्सनालिटी डेभलपमेन्ट’ प्रशिक्षण ज्यादै
उपयोगी भएर यसैमा खुसी रहेको सिर्जनाले बताइन् । भदौ अन्तिम साता सात प्रतिस्पर्धीलाई उछिनेर उनले उपाधि जितिन् । त्यसयता जिम्मेवारी थपिएको उनले बोध गरेकी छन् । ‘मैले धेरै गर्नुपर्छ भन्ने भएको छ,’ उनले सुनाइन्, ‘एक वर्षमा बेलायतका नेपाली युवालाई एकीकृत गर्ने मेरो योजना छ । बेलायत बस्ने युवाले नेपालीपन भुल्ने क्रम बढेकाले म उनीहरूलाई एकीकृत गर्न चाहन्छु । वृद्धवृद्धा यूकेमा एक्लो महसुस गर्नुहुन्छ, उहाँहरूलाई अंग्रेजी भाषा आउँदैन, रमाइलो गर्न मन लाग्दो हो, हामी साथमा छांैं है भन्ने देखाउन चाहन्छु ।’सिर्जनाले यही नोभेम्बरभित्र ‘ब्युटी विथ द पर्पोज’ च्यारिटी इभेन्ट गर्ने योजना बनाइरहेकी छन् । उपाधि जितेसँगै साथीभाइ, आफन्तजन र समाजले हेर्ने दृष्टिकोण सकारात्मक पाएकी छन् उनले । त्यस्तो सकारात्मक र रचनात्मक प्रतिक्रियाले अगाडि बढ्न सहज हुने विश्वास उनलाई छ ।सन् २०१० मा सुरु मिस यूके नेपाल प्रतिस्पर्धा प्रारम्भदेखि नै हेरिराख्थिन् सिर्जना । तर, पहिले पढाइ प्राथमिकतामा थियो । कलेज, युनिभर्सिटी सकिएपछि उनी ब्युटी पेजेन्टतिर लागेकी हुन् । ठुल्दिदी चन्द्रा गुरुङ ‘मिस नेपाल, २००५’ को फाइनलिस्ट र सान्दिदी तिर्सना ‘मिस टिन, २००५’ । यो क्षेत्र ग्ल्यामरस मात्र होइन, समाजमा राम्रो काम गर्न प्रेरित गर्ने एउटा अस्त्र पनि हो भन्ने दिदीहरूकै प्रेरणाले यता रुचि बढेको उनले सुनाइन् । ब्युटी पेजेन्ट बेलाबेला आलोचनाको घेरामा रहन्छ । बाहिर सरसर्ती हेर्दा यो देह प्रदर्शनबाहेक केही होइनजस्तो ठान्नेहरू अधिक छन् । तर, सिर्जनाको बुझाइ अलिक फरक छ । ‘झकिझकाउ फाइनल राउन्ड पुग्दा मानिसको नजरमा यो क्षेत्र ग्ल्यामरस लागे पनि प्रशिक्षण अवधिभर प्रतियोगीले कसरी बोल्ने, कसरी समाजसँग घुलमिल हुने भन्ने थाहा पाउँछन् । समाजलाई कसरी राम्रो कुरा दिन सकिन्छ थाहा हुन्छ । त्यस कारण यो आफैंमा नराम्रो क्षेत्र होइन,’ उनको बुझाइ छ ।

लन्डन ब्रुनेल युनिभर्सिटीबाट बायो मेडिकल साइन्समा ग्रयाजुएसन गरेकी सिर्जनाले विगतमा सर्ट मुभी र म्युजिक भिडियोमा अभिनय गरिसकेकाले क्यामेरा फेस गर्न झन् मज्जा लाग्ने बताइन् । राम्रो अफर आए फिल्ममा पनि खेल्ने उनको चाहना छ ।पोखराको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल नजिक स्थायी घर भएकी उनी दस वर्ष छँदा ब्रुनाई गइन् । बाबु ब्रिटिस आर्मीको जीआरईमा सेवारत थिए । कक्षा ३ सकेर ब्रुनाई गएकी सिर्जना साढे तीन वर्ष त्यहाँ बसेर २००६ मा यूके आइन् । लाहुरे परिवारमा जन्मिन पाएकामा आफूलाई भाग्यमानी ठान्छिन् उनी । ‘बुबा, दाइ, अंकल सबैजना लाहुरे पृष्ठभूमिका । यही कारण हामी यूकेमा आउन पायौं,’ उनले भनिन्, ‘म यो अवसरलाई यहाँ सदुपयोग गर्न चाहन्छु ।’लामो समयदेखि बेलायतमै रहेकी उनलाई प्रेम र सेक्स एकअर्काबीच विश्वासमा हुनुपर्छ जस्तो लाग्छ । बेलायतमा रहेका कैयौं नेपाली युवा कुलततिर लागेका खबर सुन्दा उनी दु:खी हुन्छिन् । ‘परिवारबीच कम्युनिकेसन अत्यावश्यक छ,’ उनको सुझाव छ, ‘आमाबाबुलाई आफ्ना बच्चाले के गर्दै छन् थाहा हुनुपर्छ । परिवारबाट टाढिँदै जाँदा गलत बाटोमा हिँड्ने सम्भावना रहन्छ ।’५ फिट ७ इन्च उचाइ भएकी स्पोर्टी पर्सन सिर्जना फिटनेसमा खुबै ध्यान दिन्छिन् । जागिर सकेर प्रत्येक साँझ जिम जाने उनको रुटिन छ । लङजम्प, बास्केटबल, योग, स्विमिङबाहेक युट्युबमा रमाउने गर्छिन् उनी । फुर्सदमा विभिन्न व्यक्तित्वका प्रेरणादायी अन्तरवार्ता हेर्न मन लाग्छ उनलाई ।
भविष्यमा क्लिनिकल रिसर्चमै अगाडि बढ्ने उनको सोच छ । मिस यूके नेपाललाई बृहत् रूपमा अगाडि बढाउने र नेपाली समुदायको हितका लागि सहकार्य गर्ने योजना पनि उनले सुनाइन् । नेपालतिर गएर सामाजिक काम गर्ने मनसुबा पनि छ ।

शैली

साहित्यमय दसैं

- दुर्गालाल केसी
दसैंको अवसरमा घोराहीमा आयोजित साहित्यिक कार्यक्रममा (बायाँबाट) कवि रमेश क्षितिज र संगीतकार सन्तोष श्रेष्ठ । तस्बिर : दुर्गालाल/कान्तिपुर

दाङ– दसैं मान्न गृहजिल्ला आएका कवि/गीतकार रमेश क्षितिजले दसैंको अधिकांश समय साहित्यिक कार्यक्रममा सहभागी भएर बिताए । केही अन्य कवि, लेखकका कार्यक्रम त केही आफ्नै । उनले दसैं मान्न भेला भएका साहित्यिक व्यक्तित्वहरूसँग कविता लेखनका विषयमा बहस गर्ने अवसर पाए ।उनले दसैंको अन्तिम दिन बिहीबार घोराहीमा पाठकहरूसँग आफ्नै कविताका विषयमा खुलेरै छलफल गरे । ‘कविताले मान्छेको जीवनमा उत्साह भर्छ, उमंग भर्छ । कविताले सुन्दर संसारको निर्माण गर्छ,’ उनले कविताका विषयमा भने, ‘मेरो अनुहारजस्तै कविता निर्माण गर्न धेरै प्रताडना भोगेको हुन्छु । एउटा संग्रह निकाल्न एक दशक गुजार्नुपर्छ । कविता निर्माण गर्न वर्षौंको साधना आवश्यक पर्छ ।’उनले केही नयाँ कविता पनि सुनाए । आफू विषयवस्तु नदोहोरियोस् भन्नेमा सचेत रहेको बताए । ‘म एउटै विषय नयाँ कवितामा मिसाउँदैन । कविता कसैलाई लेखाउन सकिँदैन,’ उनले भने, ‘आत्मकथा अरूलाई पनि लेखाउन सकिन्छ । कवितामा प्रेममा जस्तै रहस्य हुन्छ । कविता बुझ्नु र प्रेम बुझ्नु कठिन कुरा हो । भावनाको असीमितता कविताको सौन्दर्य हो ।’
कानुनविद् एवं गायक भीमार्जुन आचार्यले पनि क्षितिजका कविता र गीतबारे चर्चा गरे । संगीतकार सन्तोष श्रेष्ठले क्षितिजको कविता चर्चालाई सांगीतिक बनाउन भूमिका खेले । दसैंकै अवसर पारी कथाकार नवीन विभासको ‘रोल्पा सुइना’ कथा संग्रहबारे पनि परिचर्चा भयो । एक दशकको सशस्त्र संघर्षले रोल्पामा देखाएको सपना र सर्वसाधारणले देखेकका सपनाहरू उनिएका कथाबारे पाठकहरूले छलफल गरे । समीक्षक टीकाराम उदासीले सशस्त्र संघर्षले पारेका प्रभावहरू निष्पक्ष रूपमा कथामा समेटिएको बताए । कथाकार विभासले आफैंले भोगेका र सर्वसाधारणले भोगेका युद्धकालीन र युद्धपछिका भोगाइहरू कथाका रूपमा संग्रहित गरेको बताए ।दाङको साहित्यिक माहोलमा भुल्न कथाकार महेश पौड्याल पनि काठमाडौंबाट घोराही आए । उनको भर्खरै प्रकाशित कथा संग्रह ‘त्यसपछि फुलेन गोदावरी’ को परिचर्चा गरियो । समीक्षक सूर्य बीसीले समाजमा खुला आँखाले हेर्दा नदेखिने पात्र र घटनाहरूलाई कथामा समावेश गरिएको उल्लेख गर्दै उनले साहित्यलाई समाज र तथ्यपरक घटनासँग जोड्न कथा संग्रहले महत्त्वपूर्ण भूमिका खेलेको टिप्पणी गरे ।प्राज्ञ अमर गिरीले बजारले साहित्यलाई चटपटे बनाइरहेको सन्दर्भमा साहित्यको मर्मलाई मर्न नदिन कथा संग्रह सफल भएको दाबी गरे । दसैंको रमाइलोमा रस भर्न साहित्यिक कार्यक्रम निकै उपयोगी भएको राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

Page 9
शिक्षा

लाहुरे डाक्टर

- गणेश राई

काठमाडौं– नेपाली जनमानसमा लाहुरे भनेका अनपढ हुन्छन् भन्ने धारणा छ । तर त्यो धारणाले कोल्टे फेरेको धेरै भइसकेको छ, चर्चा भने काम हुन्छ । नेपालको राजनीतिक आन्दोलनहरूमा सक्रिय भूमिका निभाएकाहरू लाहुर गए । अर्काको देशमा भाडाको सिपाही बन्न हुन्न भन्दै विरोध गर्ने ठिटाहरू पनि अन्तत: लाहुरे बने । सैनिक जीवनमा माथिल्लो दर्जा हासिल गरेनन् । तर मनभित्र पढ्ने धोको पालेकाहरू पनि थिए केही । तिनले उच्च शिक्षासँगै विद्यावारिधि (पीएचडी) उपाधिसमेत हासिल गरेका छन् । उनीहरूको नाम अक्सफोर्ड, क्याम्ब्रिजलगायतका युनिभर्सिटीको अनुसन्धाता सूचीमा दर्ज भएको छ । विषयविज्ञका रूपमा बेलायतमै कार्यरत पनि छन् केही । ब्रिटिस गोर्खा सैनिकमा कार्यरतर सैनिक पेसालाई बीचैमा छाडेर शिक्षालाई अघि बढाउनेहरूसमेत बढेका छन् ।


अन्तर्राष्ट्रिय सम्बन्धविज्ञ


डा. प्रेम आले अन्तर्राष्ट्रिय सम्बन्धविज्ञका रूपमा चिनिन्छन् । उनले भर्खरै मात्र (सन् २०१७) मा अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट विद्यावारिधि उपाधि धारण गरेका छन् । ‘नेपालको सार्वभौमसत्तालाई ठूला मुलुकले पारेको असर’ शीर्षकमा शोध गरेका हुन् । उनी त्यही विश्वविद्यालयको एसिस्टेन्ट रिसर्चर छन् । उनी बेलायतकै डिफेनस कलेज अफ कम्युनिकेसन सिस्टममा सहप्राध्यापक छन् । सन् १९८६ मा भर्ती भएर २०१६ मा अवकाश लिए । यसबीचमा उनले युनिभर्सिटी अफ लन्डनबाट ‘राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयमा बीएस्सी अनर्स गरेका थिए । त्यस्तै, बेलायतकै क्रानफिल्ड युनिभर्सिटीबाट ‘अन्तर्राष्ट्रिय सुरक्षा’ विषयमा एमएस्सी गरेका थिए । उनी एनआरएन यूकेका उपाध्यक्ष निर्वाचित भएका छन् । पेसाले उनी ब्रिटिस गोर्खा सैनिकका अवकाशप्राप्त मेजर हुन् । उनको स्कुले जीवन स्याङ्जाको जनज्योति माविबाट आरम्भ भएको हो । बसोबास चितवनमा रहेको छ । पृथ्वीनारायण क्याम्पस पोखराबाट आईएस्सी उत्तीर्ण गरेपछि इलेक्ट्रोनिक्स इन्जिनियरको सपना बुन्दै गर्दा भर्ती हुन पुगे । ‘बुवाको करले भर्ती हुनुपर्‍यो,’ सामाजिक सेवामा लागिपरेका उनी भन्छन्, ‘ज्यान युकेमा छ, दिल नेपालमै छ । नेपालका गरिब र असहायका निम्ति केही गर्नुपर्छ भन्ने
लागेको छ ।’ उनी चिल्ड्रेन फर चिल्ड्रेन नेपाल नामक संस्थाका ट्रस्टी हुन् । उक्त संस्थामार्फत धादिङ र पोखरामा काम गर्दै आएको उनले सुनाए ।


नेपालको शिक्षाका विज्ञ
लाहुरे चन्द्र लक्सम्बा अहिले अक्सफोर्ड विश्वविद्यालयका एक अनुसन्धाताको परिचय बोकेका छन् । उनी बेलायतवासी नेपालीमाझ डा. चन्द्र लक्सम्बाका रूपमा परिचित छन् । सन् २००५ मा युनिभर्सिटी अफ सर्रेबाट ‘नेपालको शिक्षा प्रणाली तथा जीवनपर्यन्त सिकाइ’ विषयमा विद्यावारिधि हासिल गरेपछि दायर फाँटिलो बनेको हो । ‘नेपालमा आरक्षण होइन, हरेक समाजलाई सक्षम तुल्याउन तलबाटै जग बसाएर प्रतिस्पर्धा गराउन जरुरी छ,’ उनी भन्छन् ।


लक्सम्बा अक्सफोर्डमै ‘भोकेसनल लर्निङ एक्सपर्ट’ का रूपमा कार्यरत छन् । उनी सेन्टर फर नेपाल स्टडिज यूकेका कार्यकारी निर्देशक हुन् । त्यसै संस्थामार्फत अनुसन्धान कार्य जारी राखेका छन् । बेलायतमा बसोबास गर्ने नेपालीको जनगणना गरेका छन् । सन् २००७ देखि २००९ मा गरिएको जनगणनाले ७२ हजार १ सय ७३ नेपाली रहेको देखाएको छ । जसमध्ये ६८.५ प्रतिशत ब्रिटिस गोर्खा परिवार छन् । उनले आधारभूत मानव अधिकार, स्वाभिमानपूर्वक बाँच्ने आधार (धर्म, कर्म, रीतिथिति) जस्ता विषय
केलाएको जनाए । यो तथ्यांकले बेलायतका नीतिमा प्रभाव पारेको लक्सम्बाको दाबी छ । सन् २०११ मा गरिएको अनौपचारिक जनगणनाले बेलायतमा १ लाख ५ हजार नेपाली रहेको प्रक्षेपण गरिएको छ । यसैगरी, डा. लक्सम्बा ब्रिटिस गोर्खाहरूको इतिवृत्तिबारे समेत जानकार हुन् । उनले ‘नेपाली डायस्पोरा र सामाजिक परिचालन, गोर्खाहरूको समानता मुद्दाको मावनशास्त्र’ विषयमा अनुसन्धान गरेका छन् ।


फिल्ममै विद्यावारिधि
सोलुखुम्बु सल्यानका मुलीवीर राई यतिखेर बेलायतको किङस्टन युनिभर्सिटीमा विद्यावारिधिको अन्तिम शोधमा व्यस्त छन् । उनको रुचि हो– फिल्म । शोधको शीर्षक ‘दि वे अफ गोर्खाज् थ्रु फिल्म स्टडिज’ रहेको छ ।


बीएड दोस्रो वर्षमा पढ्दै गर्दा सन् १९९३ मा भर्ती लागे । पल्टनघर छिरेपछि पढ्ने धोको साँचेरै अघि बढिरहेका छन् । अहिलेसम्म पल्टनमै छन् । उनको खाँटी परिचय भने ब्रिटिस लाहुरे नै हो । यदि लाहुरे नभइदिएको भए सायदै विद्यावारिधि उपाधि पहिल्याउने थिए । नयाँ विषयमा केही गर्ने सोचाइले फिल्म रोजेको उनी सुनाउँछन् । जसले गर्दा ब्याचलर्स र मास्टर्स दुवै तहको पढाइ फिल्म केन्द्रित गरे ।
उनको शब्दमा सिनेमा भनेको सामाजिक घटना, परिघटनालाई प्रोजेक्सन गरेर डिजिटल र एनालग गरी प्रस्तुत गरिने विधि हो । यो ऐतिहासिक पनि हुन्छ । विगत, वर्तमान र भविष्यको कल्पना प्रक्षेपण गरिन्छ । यो विज्ञान पनि हो । ‘फिल्म सबैभन्दा सशक्त माध्यम हो, पहिलो र दोस्रो विश्वयुद्धबारे धेरै फिल्म बनेका छन्,’ उनले भने, ‘तर विश्व थर्काउने ब्रिटिस गोर्खा सैनिकबारेमा विदेशीले खासै फिल्म बनाएका छैनन् । केही डकुमेन्ट्री बनेका छन् ।’ छ वर्षअघि नेपालमै केसाङ छेतेनको निर्देशनमा ‘हु वान्टस् टु बी अ गोर्खा’ पनि पहिलो फिल्म भएको उनी जनाउँछन् । त्यसअघि तुलसी घिमिरेले निर्माण गरेको ‘लाहुरे’ चलचित्रले केही हदमा समेटिएको उनको ठम्याइ छ । बीबीसीले गोर्खालीलाई समेटेर केही डकुमेन्ट्री बनाएको छ । मुलीवीर राई आफ्नो शोधले नेपालको फिल्मी क्षेत्रको दायरालाई फराकिलो पार्न सघाउ पुर्‍याउने दाबी गर्छन् । उनी नेपाली साहित्यका आख्यानकार पनि हुन् । उनका ‘बिसाइत’, ‘छाल’, ‘हरियो पर्खाल’ र मृत सहर’ गरी चार उपन्यास कृति प्रकाशित छन् ।

 

वातावरणविद् हितान
विजय हितान मगर निवृत्त ब्रिटिस गोर्खा हुन् । नेपालमा आईएस्सीसम्मको अध्ययनपछि बेलायत भर्ती लागेका थिए । ओपन युनिभर्सिटी अफ हङकङबाट बीएस्सी गरे । त्यसपछि हितानले लन्डनको युनिभर्सिटी अफ ग्रिनविचबाट एमएस्सी गरेपछि थप बाटो खोलेका हुन् । अहिले बेलायत सरकार मातहतको वातावरण निकायमा वातावरणविज्ञका रूपमा कार्यरत छन् । सन् २००८ मा शोधकार्य गरेलगत्तै यो अवसर पाएका हुन् ।


नेपालको सन्दर्भमा उनको योजना छ । ‘नेपालको वातावरणीय विकासमा केही काम गर्ने सोच बनाएको छु,’ नेपाल र बेलायतबीचको दुई सय वर्षदेखिको सम्बन्ध निरन्तर रहेको उल्लेख गर्दै उनले भने, ‘सहर बजारको फोहोरमैला कसरी व्यवस्थापन गर्ने र आर्थिक उन्नतिसँग जोड्ने भन्ने खाका बनाएको छु ।’ त्यसनिम्ति बेलायतस्थित दूतावास, गैरआवासीय नेपाली संघ र नेपाल सरकारको संयुक्त सहकार्य रहन सक्ने उनले जनाए । उनी साहित्यकार पनि हुन् । उनको ‘बिछोडअघिको रात’ र ‘बाग्मती ब्लुज’ कविता संग्रह, ‘थकित पृथ्वी’ कथा संग्रह र ‘इको उत्सर्जन’ निबन्ध संग्रह प्रकाशित छन् । वातावरण साहित्य तथा संरक्षण उनको रुचि हो ।

शिक्षा

बदलिँदै अतिरिक्त क्रियाकलाप

- कुम्भराज राई

ओखलढुंगा– पहिले पहिले शुक्रबार हाफ छुट्टी हुनेबित्तिकै विद्यार्थी गुरुर्र कुदेर घरतिर लाग्थे । खाली समयमा शिक्षकले विद्यार्थीलाई पिउने पानी बोकाउँथे, कक्षाकोठा सफा गर्न लगाउँथे । बढीमा हाजिरीजवाफ र वक्तृत्वकला गराउने चलन थियो । यसैलाई त्यतिखेर अतिरिक्त क्रियाकलाप मानिन्थ्यो । तर हिजोआज यहाँका सामुदायिक विद्यालयहरूमा अतिरिक्त क्रियाकलापको शैली बदलिन थालेको छ । पहिले शिक्षकले क्रियाकलापका नाममा गर्ने हस्तक्षेप घट्न थालेको छ । शिक्षकहरूको सहयोग लिएर अहिले यस्ता क्रियाकलाप विद्यार्थी आफैं गर्छन् । सिद्धिचरण नगरपालिका–११ मा पर्ने जालपा माविमा ५ सय विद्यार्थी छन् । ती विद्यार्थीलाई चार वर्ग (हाउस) मा विभाजन गरिएको छ । हाउसका नाम जनकपुर, सगरमाथा, मेची र कोशी छन् । प्रत्येक हाउसका छात्राहरूको रिबनको रंग पनि फरक छ ।
‘हामीले चारवटा हाउसमा विद्यार्थीहरूलाई समूह बनाएपछि कुनै पनि अतिरिक्त क्रियाकलाप गर्न विद्यार्थी खोजिरहनै पर्दैन ।’ प्रधानाध्यापक रत्नबहादुर खत्रीले भने, ‘उनीहरूबीचमा त्यस्ता क्रियाकलाप गर्ने प्रतिस्पर्धा नै चल्छ ।’ प्राय: खेलकुद, साहित्य, मनोरञ्जन, सरसफाइजस्ता काममा प्रत्येक शुक्रबार र छुट्टीको दिन पनि उनीहरू संलग्न भइरहन्छन् ।भगवती मावि मानेभन्ज्याङमा पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन विद्यार्थीहरू आफंै जागरुक हुने गरेका छन् । पहिले अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्छ भनेर भाग्ने विद्यार्थीहरू अहिले आफंै आयोजना गर्ने गर्छन् । ‘प्रत्येक साता कुनै न कुनै कार्यक्रम भइरहेको हुन्छ,’ विद्यालयका शिक्षक बुद्ध राईले भने, ‘किताबी ज्ञानभन्दा बाहिरी ज्ञान प्राप्त गर्ने खालका क्रियाकलापमा विद्यार्थी संलग्न हुन रुचाउँछन् ।’

शिक्षा

अब्बल बालमन्दिर

- लालप्रसाद शर्मा

पोखरा– व्यवस्थापन दरिलो र गुणस्तरमा सुधार भएसँगै यहाँको नदीपुरस्थित बालमन्दिर मावि अब्बल बन्दै गएको छ । प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र अभिभावकबीचको सुमधुर सम्बन्धले विद्यालयले शैक्षिक फड्को मार्न सफल भएको हो । २०६२ मा पहिलो पटक एसएलसीमा सहभागी विद्यालयले लगातार राम्रो नतिजा हासिल गरिरहेको छ । २०७२ र २०७३ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए । शैक्षिक एवं अन्य अतिरिक्त क्रियाकलापका कारण दस पटकसम्म कास्कीको उत्कृष्ट स्कुल बन्न सफल भएको छ । यस वर्ष पनि चार नम्बर प्रदेशको उत्कृष्ट विद्यालयमा यो परेको छ । यसअघि २०७० मा पश्चिमाञ्चलमै उत्कृष्ट बनेको थियो । ‘शैक्षिक गुणस्तरका लागि टिम वर्क महत्त्वपूर्ण रहेछ,’ प्रधानाध्यापक सुशील बस्नेतले भने, ‘काम गर्ने इच्छाशक्ति साथै सरोकारवालाबीच सुमधुर सम्बन्ध र समन्वय पनि उत्तिकै आवश्यक पर्ने रहेछ ।’यति बेला अभिभावक र विद्यार्थीमा अंग्रेजी मोह ह्वात्तै बढेको छ । सबै कक्षामा अंग्रेजी माध्ययमबाट पढाउँदै आएको छ । त्यसैले विद्यार्थी ओइरिइरहेका छन् । १० कक्षासम्म १ एक हजार ७८ विद्यार्थी छन् । उनीहरूलाई २६ सेक्सन बनाएर पढाइन्छ । कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा विषयमा थप २ सय ७३ विद्यार्थी छन् । ४५ शिक्षक र ११ कर्मचारी छन् । ‘मल्टिमिडियाको प्रयोगलाई जोड गरेका छौं,’ प्रअ बस्नेतले भने, ‘यसलले शैक्षिक गुणस्तरमा सहयोग पुर्‍याउने रहेछ ।’ विद्यार्थीबाट लेखरचना तथा कला प्रदर्शनका लागि बाल बगंैचा भित्तेपत्रिकाको व्यवस्थापन, वार्षिक कार्यक्रमसहितको शैक्षिक क्यालेन्डर प्रकाशन, पढाइसँगै अतिरिक्ति गतिविधि, शैक्षिक भ्रमण, खेलकुद, चित्रकला, नृत्य र संगीतका कक्षा पनि सञ्चालित छन् । अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्न विभिन्न समिति उपसमित गठन गरिएका छन् । शैक्षिक गतिविधि निरीक्षणका लागि १५ वटा सीसी क्यामेरा जडान गरिएका छन् । ‘समितिले कमीकमजोरी भएमा सच्चाउने र स्रोत जुटाउने काम गर्दै आएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकिशोर बाँस्तोलाले भने, ‘मुख्य कुरा भनेकै शिक्षक र विद्यार्थीको मिहिनेत हो । अभिभावकले पनि नियमित रूपमा विद्यालयको रेखदेख गर्ने भएकाले विद्यार्थीहरू ट्रयाकबाहिर जान पाउँदैनन् ।’
नेपाल बाल संगठन स्थापनापछि शिशु कक्षाको रूपमा रत्न नमुना पाठशालाका नाममा २०२४ मा स्थापना भएको विद्यालयले वेबसाइट, इमेल र फेसबुकजस्ता सामाजिक सञ्जालको पनि भरपुर उपयोग गर्दै शैक्षिक गुणस्तरको उन्नतिमा लगाउँदै आएको छ ।

Page 10
समाचार

४० हजार भारुसहित लुटिए

छोटकरी
- कान्तिपुर संवाददाता

नेपालगन्ज (कास)– भारतको हिमाचल सिमलाबाट मजदुरी गरी घर फर्कंदै गरेका एक नेपाली लुटिएका छन् । सल्यान स्यानीखालका ३८ वर्षीय रतन बुढाथोकी ४० हजार भारुसहित भारतको मथुरा आसपास क्षेत्रमा लुटिएका हुन् । उनलाई आँपको जुसमा नशालु पदार्थ खुवाएर लुटपाट गरिएको प्रहरीले जनाएको छ । बेहोसी अवस्थामा नेपालगन्ज सीमाको भारतीय रुपैडिहा बजारमा भेटिएका उनलाई तत्काल उद्धार गरी भेरी अञ्चल अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई सुधीर खड्काले बताए । बुढाथोकी भारतीय क्षेत्रमा लुटिएकाले त्यहाँका सुरक्षा अधिकारीलाई जानकारी दिएको प्रहरीले जनाएको छ ।

समाचार

टेलिफोन अवरुद्ध

छोटकरी
- कान्तिपुर संवाददाता

डोल्पा (कास)– सदरमुकामलगायतका क्षेत्रमा पटकपटक टेलिफोन र मोबाइल सेवा अवरुद्ध हुँदा स्थानीयलाई सास्ती भएको छ । सदरमुकाम दुनैलगायतका स्थानमा नेपाल टेलिकमका नमस्ते र स्काई मोबाइलको नेटवर्क तीन महिनादेखि बेलाबेला अवरुद्ध हुने गरेको छ । मोबाइल, टेलिफोन र इन्टरनेट अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका ४ का छक्कबहादुर धरालाले बताए । उनका अनुसार एनसेललगायतका मोबाइल पनि बेलाबेला अवरुद्ध हुने गरेका छन् । नेपाल टेलिकमले कालिकोट, जुम्ला र दैलेखमा राखिएका टावरमा खराबी आएका कारण यस्तो भएको जनाएको छ ।

समाचार

लागूऔषधसहित ४ पक्राउ

छोटकरी
- कान्तिपुर संवाददाता

इटहरी (कास)– लागूऔषधसहित ४ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । कप्तानगन्जबाट विराटनगरतर्फ जाँदै गरेका विराटनगर–१७ का गोविन्द शर्माका साथबाट १ सय ३० पिस नाइट्रोजन ट्याब्लेट र ३० ग्राम गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले शर्मा र देवानगन्ज–४ का अमितकुमार शर्मालाई नियन्त्रणमा लिएको छ । त्यसैगरीे धरान–११ गैरीगाउँ बस्ने सन्तोष कार्कीको घरमा छापा मार्दा ५१–५१ एम्पुल एभिल, डाइजेपाम र लुपिजेसिक बरामद भएको हो । त्यस्तै दीपक विकको साथबाट ३९–३९ थान एभिल, डाइजेल्याप र लुपिजेसिक बरामद गरेको प्रहरीले जनाएको छ ।

Page 11
अर्थ वाणिज्य

पूरक बजेटको सम्भावना टर्‍यो

वाम गठबन्धन
- कृष्ण आचार्य

काठमाडौं– अर्थ मन्त्रालय र योजना आयोगले आन्तरिक गृहकार्य गरिरहेकै बेला बनेको वाम गठबन्धनले पूरक बजेट ल्याउने सम्भावना टारिदिएको छ । सत्ता घटक एमाओवादी केन्द्रले प्रमुख प्रतिपक्ष एमालेसँग केही दिनअघि गठबन्धनको घोषणा गरेसँगै पूरक बजेटको सम्भावना टरेको हो । आन्तरिक गृहकार्यमा जुटेको अर्थ मन्त्रालय र योजना आयोगका अधिकारीले कर्मचारीहरूलाई तत्काल यसको सम्भावना टरेको जानकारी गराइसकेका छन् । दसैंअगाडि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरेका थिए । निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा आयोगको सहमतिबिना पूरक बजेट ल्याउन नपाइने व्यवस्था छ । ‘मन्त्री कार्कीले आयोगसँगको एक चरणको छलफलपछि राजनीतिक सहमति जुटाउन दलहरूसँग छलफल गर्ने तयारी गर्नुभएको थियो,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तर पछिल्लो राजनीतिक परिस्थितिले तत्कालका लागि पूरक बजेटको सम्भावना टारिदिएको छ ।’
अघिल्लो सरकारले पनि निर्वाचनको बीचमा कामचलाउ बजेट ल्याएको पृष्ठभूमिमा मुलुकमा हालै गएको बाढीपहिरोले पुर्‍याएको क्षति, करका दरहरूको समायोजन, अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौता र पछिल्लो समय आएको वैदेशिक सहायताको प्रतिबद्धतालगायत विषयहरू बजेटमा समावेश गर्नुपर्ने भन्दै पूरक बजेटको गृहकार्य भएको थियो । तराईमा गएको बाढीले करिब ३२ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन योजना आयोगको छ । अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाललाई
५० करोड अमेरिकी डलर (५० अर्ब भन्दा बढी) सहयोग गर्ने भएको छ । गत भदौ अन्तिम साता अमेरिकामा आयोजित कार्यक्रममा अर्थमन्त्री कार्कीसँग यो सहयोगमा सम्झौता भइसकेको छ । जलविद्युत् तथा सडक निर्माणका लागि यो रकम खर्च गर्नुपर्ने हो । उक्त सहयोग र खर्च गर्ने आयोजना बजेटमा समावेश गर्नका लागि समेत पूरक बजेटको आवश्यकता परेको सरकारी अधिकारीहरूले बताउँदै आएका थिए ।
पूरक बजेटमा योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको जोड थियो । ‘पूरक बजेटको आवश्यकता हो,’ उनले भने, ‘तर राजनीतिक सहमति नजुटी यो सम्भव छैन । राजनीतिक सहमति जुटाउने विषय अर्थमन्त्रीको हो ।’

अर्थ मन्त्रालय र आयोगको गृहकार्य अनुसार तिहारलगत्तै मंसिर १० र २१ मा हुने निर्वाचन अघि ल्याउने तयारी गरेका थिए । दसैं नसकिँदै एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टी बीचको समझदारीले पूरक बजेट छायाँमा परेको हो । अन्य दलहरूसँग तालमेल, अगामी निर्वाचनको रणनीतिको विषयमा सत्तारूढ दल कांग्रेसको ध्यान केन्द्रित भएकाले पनि पूरक बजेटको संभावना टरेको हो ।‘यो समझदारी नभएको भए पनि प्रमुख प्रतिपक्ष एमाले र निर्वाचन आचार संहिताकै कारण पूरक बजेटको धेरै सम्भावना त थिएन,’ योजना आयोगका अर्का एक अधिकारीको दाबी छ, ‘तर पछिल्लो वाम समझदारीले त पूर्ण रूपमा यसको सम्भावना टारिदिएको हो ।’ सरकारले चालु आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट सार्वजनिक गरिसकेको छ । यसमध्ये चालुतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार (६२ दशमलव ८ प्रतिशत) विनियोजन गरिएको छ । पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ (२६ दशमलव २) प्रतिशत र वित्तीयतर्फ १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार (११) प्रतिशत विनियोजन भएको हो ।
संविधानमै जेठ १५ गते बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि गत वर्षबाट नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै बजेट सार्वजनिक भएको हो । यसपटक १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै (असार मै) बजेट पास भएको थियो । तथ्यांकअनुसार १६ वर्षअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यको पालामा २०५७/५८ मा असार मसान्तमै बजेट पास भएको थियो । त्यसपछि यसपटक आर्थिक वर्ष नलाग्दै बजेट पेस भई गत आर्थिक वर्षभित्रमै पास भएको हो । पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि तत्कालीन अर्थ तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले कामचलाउ बजेट ल्याएका हुन् । पुरानो कार्यक्रमलाई निरन्तरता र संघीय संरचनाका लागि बाध्यात्मक प्रकृतिको शीर्षकमा खर्च गर्ने गरी बजेट विनियोजन भएको हो ।

अर्थ वाणिज्य

कारबाही नगर्न बहानाबाजी

दरबारमार्ग पसल अनुगमन
- राजु चौधरी

काठमाडौं– सेलको नाममा लत्ताकपडा, जुत्ता, घडीलगायत सामग्री शत प्रतिशत महँगोमा बिक्री गरेको पुष्टि भए पनि दरबारमार्गका विक्रेतालाई कारबाही नगर्न सरकारले विभिन्न बहाना निकाल्न थालेको छ । आपूर्ति मन्त्रालयले कारबाहीका लागि कानुनमै समस्या भएको जनाउँदै आएको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलसहितको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरेको थियो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग लिएको बयान र विश्लेषणमा पनि अत्यधिक मुनाफा राखी बिक्री गरेको निष्कर्ष निकालिसकेको छ । तर, कारबाही के गर्ने भन्ने निष्कर्षमा भने ती सरकारी निकाय पुगेका छैनन् । सुरुवाती दिनमा कडा रूपमा प्रस्तुत भएको मन्त्रालय पछिल्लो समय नरम बन्दै गएको छ । आपूर्तिमन्त्री मण्डलले बुधबार पत्रकार सम्मेलन गरी कानुनी कमजोरीका कारण कैफियत भेटिएका व्यवसायीलाई तत्काल कारबाही गर्न नसकेको बताए । ‘सामानको मूल्यमा देखिएको अन्तरले पनि सिधै कालोबजारी गरेको देखिन्छ,’ उनले भने, ‘तर, संरचनागत जटिलताका कारण कारबाही गर्न ढिलाइ भएको छ ।’ यस्तै प्रकृतिका अघिल्ला केही अनुगमन हेर्ने हो भने ठगी गर्नेलाई अनुगमनस्थलबाटै थुनामा पठाएको उदाहरण समेत छ । तत्कालीन वाणिज्य तथा आपूर्ति विभागका अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेका अनुसार अनुगमनका क्रममा दोषी देखिए थुनामा पठाउन मिल्ने बताए ।

‘उपभोक्ता ठगी गरेको पुष्टि भए प्रमुख जिल्ला अधिकारीको सहकार्यमा अनुगमनस्थलबाटै थुनामा पठाउन सकिन्छ । पहिले थुनामै पठाउने काम पनि भएको छ,’ उनले भने, ‘अन्य थप विषयको बयान र अनुसन्धान थुनापछिको कुरा हो ।’ उनका अनुसार ठगीको आरोपमा थुनामा राख्न सकिन्छ । मुद्दा दायरपश्चात् अदालती प्रक्रिया सुरु हुन्छ । ‘कालोबजारी ऐन अनुसार थुनामा राखेर कारबाही गर भनेर प्रहरीलाई पठाउने हो,’ उनले भने, ‘त्यसपश्चात् कागज जम्मा गरेर मुद्दा दायर गर्न सकिन्छ ।’ विभागको अनुगमनको शाखाले जनाए अनुसार बेल्बासेका पालामा यस्तै प्रकृतिको अनुगमनमा एक दर्जनभन्दा बढीलाई थुनामा पठाइएको छ । ‘ग्यास, पानी, फलफूल, औषधिमा बढी मुनाफा राखेको फेला परेपछि थुनामा पठाउनेसम्मको कारबाही भइसकेको छ,’ एक अधिकारीले भने । अपूर्तिमन्त्री मण्डलकै नेतृत्वमा गरिएको दरबारमार्गको अनुगमनमा भने कानुन कमजोर भन्दै उन्मुक्ति दिन खोजिएको उपभोक्तावादीले आरोप लगाएका छन् । ‘सस्तो लोकप्रियताका लागि मन्त्रीले अनुगमन गर्ने, पछि कारबाही गर्नेले शंका उत्पन्न भएको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने, ‘अनुगमनको क्रममा साक्षीका लागि उपभोक्ताकर्मी, सञ्चारकर्मीलाई प्रयोग गरिन्छ । फुुकुवा गर्दा गोप्य रूपमा टोली परिचालन गरिएको छ ।’
दरबारमार्गमा ठगी गरेको फेला पारेपछि बन्द गरिएका पसलको सिल सरकारले सुटुक्क खुला गरिसकेको छ । ‘करिब २० दिन सिलबन्दी थियो । बयानको आधारमा कालोबजारी गरेको फेला परे पनि कारबाहीको सट्टा सिलबन्दी फुुकुवा गरियो,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘मन्त्रालयले कानुन छैन भन्ने बहाना बनाएर छुट दिएको छ ।’अनुगमनको क्रममा दोषी व्यवसायीलाई कारबाहीको दायराभित्र ल्याउन नसक्दा अनुगमन कमाई खाने भाँडोजस्तो देखिएको विभागका कर्मचारीहरू बताउछन । कारबाहीको दायरामा ल्याउन नसक्दा व्यवसायीहरूले अटेर गरेको उनीहरूको भनाइ छ । ‘अनुगमन, बयान र विश्लेषणको क्रममा दोषी फेला परे पनि कारबाही हुन सक्दैन । दोषीलाई कारबाही नहुँदा अनुगमन गर्नुको कुनै औचित्य नै हुँदैन,’ विभागका एक अधिकारीले भने, ‘अनुगमन मौसमी/नाममात्रको जस्तो भएको छ ।’ उच्च मुनाफा गरी उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ र उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्ने आपूर्ति मन्त्रालयले दाबी गर्दै आएको थियो ।

तर, बयानको काम सकिए पनि असोज १० मै कुनै कारबाही नगरी सिलबन्दी फुकुवा गरिसकिएको छ । सरकारी वकिलको राय लिएपछि मात्रै सिलबन्दी फुुकुवा गर्नुपर्ने प्रावधान भए पनि विभागले प्रक्रिया नपुर्‍याई फुुकुवा गरेको हो । कारबाहीका लागि सरकारी वकिलको रायपछि कालोबजारी ऐनअनुसार प्रमुख जिल्ला अधिकारीले दिएको आदेशमा मात्र सिल तोड्नुपर्छ । तर, सिलबन्दी फुुकुवा गर्दा गोप्य रूपमा टोली परिचालन गरी उन्मुक्ति दिइएको छ । हाल उपभोक्ता ठगी गर्ने व्यवसायीहरू खुल्लम खुल्ला कारोबार गरिरहेका छन । मन्त्री मण्डलले ढिलो भएपनि कारबाही गरिने दावी गरे । मन्त्रीले कारबाहीको दायरामा ल्याउने दाबी गरेपनि उपभोक्ताकर्मीहरू कारबाही हुनेमा आशाका व्यक्त गरेका छन । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गर्न ढिलासुस्ती भएको बताए । दोषी भेटिएको ठहर भए पनि कारबाही नहुँदा मन्त्रालय र विभागलाई शंका गर्ने प्रशस्त ठाउँ रहेको उनले बताए । ‘व्यवसायीले सरकारलाई गुलाम, उपभोक्तालाई निरीह बनाउन खोजेको देखियो,’ अध्यक्ष महर्जनले भने, ‘नियम/कानुनको दायरामा ल्याउन नसक्दा बजार नियन्त्रण हुन सकेको छैन । कर्मचारीहरू शंकाको घेरामा रहिरन्छन ।’

उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष कृष्णप्रसाद भण्डारी(मार्सेली)ले कालोबजार ऐनको प्रक्रियामा जान्छु भनेका मन्त्रीले कानुन छैन भन्नु गलत भएको बताए । बजार अनुगमनलाई प्रभावकारी पार्ने काममा यस्ता क्रियाकलापले बाधा पुग्ने उनले बताए । उनले सिलबन्दी खोल्नुको उद्देश्य र नियत नै खराब देखिएको आरोप लगाए । विभागले कालोबजारी ऐनअनुसार मुद्धाका लागि महानगरीय प्रहरीमा फाइल पठाएको दाबी गरेको छ । कालोबजारी ऐन २०३२ अनुसार २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गर्न पाइदैन । तर, ब्रान्डेडका नाममा उच्च नाफा राखी सर्वसाधारणलाई ठगी गरेको पाइएको थियो ।ठगी गरेको भन्दै अनुगमन टोलीले पुमा, नाइके, बिन्टले र स्टोर वानमा सिलबन्दी गरेको थियो । भदौ २१ गते दरबारमा पुन: अनुगमन गर्दा छुटको नाममा व्यापारीले थप ठगी गरिरहेको फेला परेको थियो । त्यसक्रममा अनुगमन टोलीले वाच एन्ड सी, सुलक्स सेन्टर, लेबल्स स्टोर प्रालिको रिबुक, लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसनी, लेबल्स स्टोर प्रालिका पसल सिलबन्दी गरिएको थियो । तर, ठगी गर्ने व्यवसायीलाई कारबाही नगरी उन्मुक्ति दिएको उपभोक्ताकर्मीहरूले बताउँदै आएका छन् । विभागका महानिर्देशक कुमार दाहालले दोषीलाई उन्मुक्ति नहुने बताए । ‘कारबाही प्रक्रियाबारे शुक्रबार पुन: चिठी लेखेर फलोअप गर्छु,’ उनले भने । अनुगमन पनि तीव्र बनाइने बताए । कालोबजारी ऐनअनुसार २० प्रतिशतभन्दा बढी मुनाफा लिई बिक्री गरेको अवस्थामा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ । तर, उपभोक्ता संरक्षण ऐनमा कारबाहीको दायरा प्रस्ट छैन ।

अर्थ वाणिज्य

मेलम्चीको पानी चैतमा

- कान्तिपुर संवाददाता

काठमाडौं– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको छ । पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने आयोजनाको दाबी छ । ‘दैनिक २०/२५ मिटर सुरुङ खन्ने प्रतिबद्धता ठेकेदारले जनाएको छ,’ आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने, ‘यस वर्षभित्रै पानी आउँछ, अब निराश हुने अवस्था छैन ।’ पुसभित्र ‘ब्रेक थ्रो’ गरेर सुरुङ ढलान गर्न थप ४ महिना चाहिने उनले बताए । आयोजनाका अनुसार सिन्धु–ग्यालथुम (९ सय मिटर), ग्यालथुम–अम्बाथान (७ सय मिटर) सुरुङ खन्न बाँकी छ । सिन्धु–ग्यालथुम पुस र अम्बाथान–ग्यालथुङ मंसिरभित्रमा ब्रेक थ्रो हुने उनले बताए । सिन्धुदेखि ग्यालथुम खण्डको भौगर्भिक अवस्था कमजोर भएकाले सोचेजति गतिमा सुरुङ खन्न नसकिएको उनले बताए । ‘यस खण्डमा (सिन्धु–ग्यालथुङ) भौगर्भिक हिसाबले निकै कठिन छ, चट्टान कमजोर छ,’ उनले भने, ‘अम्बाथान–ग्यालथुम ब्रेक थ्रो चाँडो हुन्छ ।’ सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम ९ महिनाअघि सम्पन्न भइसकेको छ । त्यस खण्डमा ढलान गर्ने काम पनि भइरहेको उनले जानकारी दिए । हाल दैनिक १८
मिटर जति सुरुङ खन्ने काम भइरहेको उनले बताए । पुराना औजार, कमजोर भूगोल लगायतका कारणले सुरुङ खन्न ढिलाइ भएको दाबी उनको छ । ‘हाल ठेकेदारले नयाँ औजार ल्याएको छैन, हामीले नयाँ औजार ल्याउन निर्देशन दिएका छौं, अब ल्याउँछ होला,’ उनले भने, ‘सुरुङ खन्नुमात्र ठूलो कुरा होइन, भित्री संरचना बलियो बनाउनुपर्छ, आरसीसी ढलान गरेर मात्र पानी ल्याउनुपर्ने हुन्छ ।’ सुरुङ खन्ने काम सकिनेबित्तिकै पानी नआउने उनको भनाइ छ ।सिन्धु–सुन्दरीजल खण्ड सबैभन्दा लामो सुरुङ हो । ‘त्यो जोडिइसक्यो, सम्पूर्ण सुरुङको ८८ प्रतिशत काम पूरा भइसकेको छ,’ उनले भने । तीनवटा अडिटमध्ये सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्यालथुम (८ किमि) र ग्यालथुम–अम्बाथान अडिट (९ किमि) छन् । त्यसैगरी ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गा मुआब्जा तथा अन्य कानुनी प्रक्रिया पनि पूरा गरिसकिएको उनले बताए । सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्यालथुम खण्डमा भेन्टिलेटर निर्माण हुने आयोजनाले जनाएको छ ।

‘ठेकेदारले भेन्टिलेटर निर्माण गर्न औजार ल्याउँदै छ,’ उनले भने । दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट पानी ल्याउने तयारीसमेत भइरहेको उनले जानकारी दिए । ‘१ वर्षभित्र यांग्री र लार्के खोलामा सुरुङको डीपीआर तयार हुन्छ,’ उनले भने, ‘डीपीआर तयार हुने बित्तिकै निर्माण अघि बढ्छ ।’मेलम्चीबाट यांग्रीबीचको सुरुङको लम्बाइ ९ किमि र यांग्री–लार्केबीचको सुरुङको लम्बाइ करिब २ किमि रहेको आयोजनाले जनाएको छ । यांग्रीसम्म सडकको पहुँच भए पनि लार्केमा पुर्‍याउन कठिन रहेको उनले बताए । ‘सडक ट्रयाक खोलिसकेका छौं, पुललगायत सडकको टेन्डर पनि अब चाँडै हुन्छ,’ उनले भने । मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी ट्यांकीमार्फत उपत्यकाका ३५ लाखभन्दा बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उनले बताए ।
१७ करोड मेलम्ची, १७ करोड यांंग्री र १७ करोड लार्के खोलाबाट गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ ।
हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत विभिन्न स्थानबाट ल्याएको पानी वितरण गर्दै आएको छ । केयूकेएलले उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ । उनका अनुसार ८० हजार धारामध्ये ४० हजार जडान गरिसकिएको छ ।

Page 12
अर्थ वाणिज्य

सर्वियाली राष्ट्रपतिद्वारा वाइवाई प्लान्ट उद्घाटन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सर्वियाली राष्ट्रपति अलेक्जेन्डर भुचिसले रुमामा स्थापित वाइवाई चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली ब्रान्ड वाइवाईलाई युरोपेली बजारमा उच्च महत्त्व दिँदै नवनिर्मित प्लान्ट उद्घाटन गर्न उनी आफैं सरिक भएको जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि वाइवाईले सर्वियाको रुमास्थित प्लान्टबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । उक्त अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाईले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक निर्वाण चौधरी एवं ग्रुपका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

अर्थ वाणिज्य

घोरदह र मुतनीको पुल निर्माणमा ढिलाइ

- दिनेश यादव
बेल्ही–चपेना गाउँपालिकाअन्तर्गत कुरनमा र बरदाही टोलबीचमा पर्ने मुतनी नदीमा चार वर्षदेखि निर्माणाधीन पुल । समयमै यो पुल नबन्दा स्थानीय बासिन्दालाई छिमेकी गाउँ तथा सीमावर्ती भारतीय बजारमा आउजाउ गर्न समस्या छ । तस्बिर : दिनेश/कान्तिपुर

फकिरा (सप्तरी)– जिल्लाको दक्षिणवर्ती क्षेत्रमा पर्ने घोरदह र मुतनी नदीमा पुल बन्न थालेको करिब ६ वर्ष भइसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । स्थानीय विकास अधिकारी र ठेकेदारको लापरबाहीले पुन बन्न नसकेको त्यस भेगका सर्वसाधारण बताउँछन् । उनीहरू भन्छन्, ‘यसमा स्थानीय नेता तथा पार्टीका कार्यकर्ताहरू पनि कम दोषी छैनन् । निर्धारित समयमै पुल नबन्नुको अन्य कारणहरूमा बजेटमा दलगत भागबन्डा र सम्बन्धित निकायबाट रकम निकासामा ढिलाइ हुनु पनि हो ।’ तर स्थानीय तहको चुनावपछि नयाँ जनप्रतिनिधिहरू निर्वाचित भइसकेकाले अब पुल बन्नेमा उनीहरू आशावादी देखिएका छन् । फकिरा टोलका सञ्जय राम भन्छन्, ‘नवनिर्वाचित प्रतिनिधिहरूले अब चाहिँ विकास निर्माणमा ध्यान देला भन्ने जनताको अपेक्षा हो । अब यस क्षेत्रमा पुल र बाटोघाटोको निर्माण पक्कै होला ।’ कुरनमा टोलका विन्देश्वर सुतिहारको धारणा पनि उस्तै छ । ‘झन्डै २० वर्षसम्म स्थानीय तह जनप्रतिनिधिविहीन भएकाले विकास निर्माण ठप्प रह्यो, अब त्यसो नहोला,’ उनले भने । सप्तरीको दक्षिण भेगमा पर्ने बरदाही, कुरनमा, फकिरा, इनरवा, मोहनपुर, रम्पुरालगायतका गाउँहरू विकास निर्माणमा निकै पछाडि रहेको स्थानीय बुद्धिजीवी भोलाप्रसाद यादव बताउँछन् । ‘यी गाउँका बासिन्दा वर्षादको समयमा वर्षको चार महिना गाउँमै थुनिन्छन् । हिलाम्मे कच्ची बाटो र त्यसमा बग्ने पानीको भेलले बाहिर निस्कनै गाह्रो पर्छ,’ उनी भन्छन्, ‘इमरजेन्सी पर्दा सर्वसाधारणले भगवान् भरोसे बस्नुपर्ने बाध्यता छ । बाँकी महिना जसोतसो बाहिर निस्कने गर्छन् ।’ यादवका अनुसार गाउँमा विकासका लागि आएको बजेट जति उपभोक्ता समितिमा बसेकाहरूले दलगत भागबन्डा गर्छन् । उनी थप्छन्, ‘आर्थिक वर्षको अन्तिम समयमा रकम निकासा हुने र कमिसनको चक्करमा भएभरको बाटोमा बालुवा र गिलो माटो थुपारेर रकम कुम्ल्याउने परिपाटी छ । कतै–कतै कनिका छरेझैं नाममात्रको ग्राभेल हाल्छन्, केही साताभित्रै कच्ची बाटो फेरि जस्ताको त्यस्तै बन्न पुग्छ, सर्वसाधारण पहिले जस्तै सास्ती खेप्न बाध्य हुने गरेका छन् ।’ फकिरा नहर टोलका मोहम्मद लालो शेखका अनुसार गाउँमा रेमिट्यान्स भित्रिएसँगै नयाँ–नयाँ मोबाइल र मोटरसाइकल खरिद गर्नेहरू बढेका छन् । ‘तर बाटोघाटोको समस्याले मोटरसाइकल घरमै थन्क्याउनुपर्ने बाध्यता सर्वसाधारणलाई छ,’ उनी भन्छन्, ‘डेढलाख रुपैयाँभन्दा बढी रकम खर्चेर भित्र्याएको मोटरसाइकल इमरजेन्सी पर्दा समेत बाहिर निकाल्न कठिनाइ छ ।’ पहिले बाटोघाटो अनि मात्रै सवारी साधन खरिद गर्दा राम्रो हुने उनको सुझाव छ । उनी भने नव निर्वाचित जनप्रतिनिधिहरूबाट तत्कालै विकास होला भन्नेबारे कमै आशावादी छन् । ‘लाखौं खर्चेर निर्वाचित भएकाले पहिले आफ्नो खर्च पो उठाउनतिर लाग्छन्, विकास तिनीहरूको प्राथमिकतामा पर्ने कमै सम्भावना छ,’ लालो शेख भन्छन् । विकास–निर्माणका लागि जनता आफैं जागरुक नभएसम्म विकास सम्भव नहुने उनको धारणा छ । गाउँमा सामाजिक अभियानमा सक्रिय मोहम्मद समिम शेख पनि विकास निर्माणमा जनताकै प्रत्यक्ष सहभागिता हुनुपर्ने बताउँछन् । गाउँ/टोलमा शुद्ध पिउने पानीका लागि चापाकल वितरण गर्दै आएका उनी भन्छन्, ‘तराई–मधेसलाई सुगम भनिए पनि सप्तरीको दक्षिणी भेग खासगरी भारतसँग सीमा जोडिएका गाउँहरू शिक्षा, स्वास्थ्य, बाटोघाटो र विकास निर्माणमा निकै पछाडि रहेको एवं दुर्गमको जस्तो अवस्थाबाट गुज्रिरहेका छन् ।’ जागरुक जनता र विकास निर्माणप्रति प्रतिबद्ध नेता/कार्यकर्ताहरूको कमीले सर्वसाधारणले अत्यन्तै कष्टकर जीवन यापन गर्दै आएको उनको तर्क छ । ‘गाउँ/टोलका सामाजिक अगुवाहरू व्यक्तिगत स्वार्थमा लाग्नु, पढेलेखेकाहरू टोलमा कम हुनु तथा युवाजति बिदेसिनुले पनि विकास निर्माणले गति लिन नसकेको हो,’ उनी भन्छन्, ‘स्थानीय निकाय र उपभोक्ता समितिका पदाधिकारीहरूको गलत मनसायलाई चुनौती दिने नभएपछि विकास निर्माणको नाममा मनपरी त हुने नै भयो ।’

चार वर्षअघि निर्माण थालिएको मुतनी नदीको पुलका लागि हरेक वर्ष बजेट आउँछ तर निर्माण पूरा नहुँदै बजेट सकिने गरेको अर्का स्थानीय रञ्जीतकुमार यादवले बताए । उनी भन्छन्, ‘विष्णुपर गाउँपालिका अन्तर्गतको कन्कट्टा र बेल्ही चपेना गाउँपालिका अन्तर्गत पर्ने इनरवा, फकिरा, कुरनमा, बरदाही र बनैनियाँसँगै भारतका सीमावर्ती गाउँहरू भरफोडी, अन्धरामन्ठ, डकही, विक्रमशेर, छातापुर, लौकही, महादेवमन्ठलगायत जोड्ने बाटोअन्तर्गत पर्ने मुतनी नदीमा पुल निर्माण नहुँदा यस भेगका सर्वसाधारणलाई वर्षौंदेखि आउजाउमा समस्या छ ।’ अघिल्लो वर्षदेखि फकिरा र इनरवालाई झौहुरा बजार, झुटकी, कमलपुर र नर्घोसँग जोड्नका लागि राजगढ थान नजिकै मुतनी नदी खण्डमा अर्को पुलको निर्माण सुरु गरिएको छ । जिल्ला विकासको बजेटबाट निर्माण हुन लागेको भनिएको उक्त पुल कहिलेसम्म बन्ने भन्नेबारे कुनै टुंगो नभएको झुटकी बलीटोलका खेमराज यादव भन्छन् । ‘वर्षौंअघि थालिएको पुल त अझै बनेको छैन भने पछिल्लो समय सुरु भएको यो पुल तत्कालै बन्ने छाँट तत्कालै छैन,’ उनले भने, ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू आएकाले झिनो आशा गर्ने ठाउँ चाहिँ छ ।

यसैगरी नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती स्थान (सखडा) सँग फकिरा, रम्पुरा, कुरनमा लगायतका गाउँ/टोल जोड्ने बाटोमा पर्ने घोरदह नदीमा पुल निर्माण थालेको ६ वर्षभन्दा बढी भइसक्दा पनि पूरा हुन सकेको छैन । फकिरा टोलका पौदुम ठाकुरका अनुसार पुल निर्माणस्थल नजिकै घोरदहको कटान तीव्र भई नदीले मार्ग नै परिवर्तन गर्ने अवस्था छ । ‘अब त यो पुल नै क्यान्सिल हुने त्रास स्थानीयवासीमा छ,’ उनी भन्छन्, ‘अत: सम्बन्धित निकायले त्यहाँ तटबन्धको निर्माणसँगै तत्काल पुल बनाउनुपर्छ ।’ छिन्नमस्ता गाउँपालिकाका नवनिर्वाचित प्रमुख सूर्यनारायण मण्डल ‘कुरुर’ ले घोरदह नदीको पुल अविलम्ब पूरा गर्ने प्रतिबद्धता सञ्चारकर्मीसँगको भेटमा व्यक्त गरेका छन् । यसैगरी, बेल्हीचपेना गाउँपालिकाका नवनिर्वाचित प्रमुख परमानन्द यादवले पनि यस क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको हालै आयोजित एक कार्यक्रममा बताएका छन् ।

Page 13
अर्थ वाणिज्य

कुखुराको तस्करी बढ्यो

- कान्तिपुर संवाददाता

गुलरिया (कास)– चाडपर्वको मौका छोपी भारतबाट अवैध रूपमा जिउँदो कुखुरा भित्र्याउने समूह फेरि सक्रिय भएको छ । प्रहरीको मिलेमतोमा भारतीय सीमा बलैगाउँबाट बढदैयाताल गाउँपालिका हुँदै तस्करले अवैध कुखुरा नेपाल भित्र्याउने गरेका हुन् । सशस्त्र प्रहरीको टोलीले बिहीबार मात्रै एक क्विन्टल ७६ किलो ८८ वटा कुखुरा नियन्त्रणमा लिएको छ । चार वटा साइकलमा आएका भरियाले बढैयाताल–७ कर्णालीपुरुवामा भारतबाट अवैध रूपमा भित्र्याउन लागेको कुखुरा नियन्त्रणमा लिएको हो । जमुनीस्थित प्रहरी चौकी र सशस्त्र प्रहरी बलको कार्यालय नजिकैबाट अवैध रूपमा कुखुरा भित्रिने गरे पनि बेवास्ता हुने गरेको स्थानीयवासीको गुनासो छ । प्रहरीसँग सेटिङमा कुखुरा तस्करी हुने गरेको स्थानीय घनश्याम खत्रीले बताए । उनका अनुसार चाडपर्वको मौका छोपी दैनिक हजारभन्दा बढी भारतीय कुखुरा अवैध रूपमा भित्रिने गरेको छ । नेपालमा प्रतिबन्धित भए पनि बलैगाउँबाट कुखुराको तस्करी हुने गरेको उनले जनाए । अवैध रूपमा भित्रिने कुखुरा तस्करबाट प्रहरीले रकम असुल्ने गरेको आरोप समेत स्थानीयवासीको छ । भारतबाट अबैध कुखुरा भित्रिएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् । व्यवसायीका अनुसार ठूलो लगानी गरी कुखुरापालन गरे पनि भारतबाट सस्तोमा अवैध कुखुरा भित्रिएपछि व्यवसायमा समस्या भएको छ । सीमामा कडाइ नभएका कारण तस्करी मौलाउँदै गएको छ ।

अर्थ वाणिज्य

‘हाइटेक टनेल’ मा तरकारी तेब्बर

- अगन्धर तिवारी
पर्वतको मोदी ५ का किसानले हाइटेक टनेलभित्र लगाएको हाइब्रिड जातको सिमी खेती । तस्बिर : अगन्धर/कान्तिपुर ।

पर्वत– धेरै पानी पर्नु वा चर्को घाम लाग्नु हरिया तरकारीका लागि हितकर हुँदैन । मौसमी मारबाट बाली जोगाएर अधिकतम लाभ कसरी लिने भन्नेमा किसान अब सचेत भएका छन् । पाँच वर्षदेखि तरकारी खेती गर्दै आएका मोदी–५ अम्बोटका लालबहादुर हरिजन टनेलमा बाली लगाउँछन् । १५ रोपनीमा १० लाखको लगानीबाट थालेको उनको फार्ममा १० वटा प्लास्टिक टनेल छन् । त्यसमा उनले मौसमी/बेमौसमी तरकारी फलाएर बजार पठाउने गरेका छन् । सामान्यभन्दा आधुनिक प्रविधियुक्त ‘हाइटेक टनेल’ मा उत्पादन बढ्ने देखेर सुरु गरेपछि उनी एकै सिजनमा अरूभन्दा तेब्बर आम्दानी लिन सफल छन् । परीक्षणका रूपमा उनले समान क्षेत्रफलका दुई टनेलमा गत कात्तिकदेखि तरकारी फलाउन थालेका थिए । पहिलो सिजनमै सामान्य टनेलका तुलनामा तेब्बर उत्पादन भएपछि यसपटक थप तीन टनेल बनाउँदै छन् । ‘पहिलो सिजनकै उत्पादनले टनेलको लगानी उठ्यो,’ उनले भने, ‘सामान्यभन्दा लगानी चार गुणा बढी भए पनि त्यही अनुपातमा आम्दानी पाउँदा खुसी लागेको छ ।’ हाइटेक टनेल हालेपछि उनले हिजोआज तरकारीबाट मासिक हात पार्ने आम्दानीमा वृद्धि भएको छ । उनले यो वर्ष मासिक २ लाख २० हजारका दरले आम्दानी गर्दै आएका छन् । कुश्मा २ खुर्कोटका भीमलाल पौडेलले पनि गत चैतदेखि हाइटेक टनेलमै तरकारी लगाएका छन् । यो प्रविधिमा गरेको खेतीले अहिलेसम्म उनले करिब डेढ लाख आम्दानी गरिसके । टनेल सुरु गरेलगत्तै बेमौसमी काँक्रा लगाएका उनले असारसम्म करिब डेढ लाख आम्दानी गरेका थिए । त्यसयता टनेलभित्र लगाएको रायो, मुला, बोडी र सिमीबाट करिब ६० हजार रुपैयाँ आम्दानी गरेको उनले बताए । ‘टनेलभित्र तापक्रमको सन्तुलन मिल्ने भएकाले सिजनअनुसारको तरकारी राम्रो फल्दो रैछ,’ उनले भने, ‘बाहिरी रोगकिराले नसताउने भएकाले फल कुहिने समस्या पनि हुँदैन ।’ तरकारीमा व्यवसायीकरण पछ्याउन थालेका पर्वतका धेरैजसो किसानहरू माटो र बीउमा मात्रै नभएर प्रविधि पनि पछ्याउँदै जान थालेका हुन् । गत वर्ष हरिजनले परीक्षणका रुपमा सुरु गरेको हाइटेक टनेल खेती प्रविधि पछ्याउने किसान १२ जना पुगिसकेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । ‘त्यस्तो टनेलभित्र उत्पादन बढ्ने मात्रै नभई किसानका लागि स्वस्थकर समेत छ,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘खुला ठाउँ र सामान्य टनेलभित्र जस्तो कीटनाशक विषादी छर्न किसान आफैं जानुपर्दैन । तापक्रमको ब्यालेन्स भित्रै हुने भएकाले बाली अन्तभन्दा सप्रिन्छ । उत्पादन स्वत: बढ्ने भयो ।’ टनेलको धुरीमा जडान गरिएको सानो प्लास्टिक पाइपबाट विषादी स्वत: छर्किन मिल्छ । यटो टनेलको बाहिरपट्टि उच्च स्थानमा राखिएको ट्यांकीमा मात्रा मिलाइएको विषादी पाइपको माध्यमबाट बालीको प्रत्येक बोटमा स्वत: छर्किन मिल्ने व्यवस्था हुन्छ । टनेलभित्रको चौघेरामा लगाइएको अर्ध–पारदर्शी पातलो जालीका कारण बाहिरी रोगकिराले आक्रमण गर्ने समस्या हुँदैन । टनेलभित्र सिँचाइ गर्न सुविधा पुग्ने गरी प्रत्येक बोटको फेदमा जडान गरिएको सानो पाइपमा मात्रा मिलाइएको मल, पानी थोपा सिँचाइको माध्यमबाट सिञ्चित हुन्छ । बालीमा भएको वृद्धि र आवश्यकताअनुसार सिञ्चित गर्नुपर्ने पानी पनि नियन्त्रण गर्न सकिने प्राविधिक बताउँछन् । प्राविधिक हिसाबले बालीलाई आवश्यक सबै खाद्यतत्त्व र कीटनाशकको मात्रा मिलाएर दिन मिल्ने र बाहिरी रोगकिराको आक्रमण शून्य हुने भएकाले सामान्यभन्दा बढी उत्पादन लिन सकिने वरिष्ठ अधिकृत रेग्मीले बताए ।

अर्थ वाणिज्य

कर छलेको कपडा नियन्त्रणमा

- कान्तिपुर संवाददाता

इटहरी (कास)– सुनसरीको दक्षिणी सीमा क्षेत्रबाट प्रहरीलेकर छल गरी ल्याउँदै गरको ३३ लाख मूल्य बराबरकोकपडा नियन्त्रणमा लिएको छ । भन्सार छलेर ल्याई मिनिट्रकमा लोड गरी अन्यत्र लाने क्रममा प्रहरीले ती सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको हो। चालक र व्यापारी भने फरार रहेका छन्। देवानगन्ज गाउँपालिका–४ बाट प्रहरीको टोलीले कपडा लोड गरिएको को१ख २१२९ नम्बरको मिनिट्रक नियन्त्रणमा
लिई सुनसरी भन्सारमा बुझाएको छ । चालक तथा कपडाधनी पक्राउ नपरे पनि ३३ लाख बजार मूल्यको कपडा र १२ लाख मूल्य अनुमान गरिएको मिनिट्रक बिहीबार प्रहरीलेसार्वजनिक गरको हो।

Page 14
विदेश

‘आतंकवादविरुद्ध कडा सुरक्षा रणनीति’

सुरक्षा संयन्त्रमा अनुहार पहिचान गर्ने उपकरण जडान गरिने
- नारायण खड्का

अस्ट्ेरलियाली प्रधानमन्त्री माल्कम टर्नबुल । तस्बिर: एजेन्सी 

अस्ट्रेलिया– अस्ट्रेलियाले विश्वमा बढिरहेको आतंकवादी आक्रमणसँगै आफ्नो सुरक्षा रणनीतिलाई अझ दरिलो बनाउने कदम चालेको छ । प्रधानमन्त्री माल्कम टर्नबुलले अनुहार पहिचान गर्न सक्ने प्रविधिको प्रयोग गरी आतंकवादविरुद्धको अभियानलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् । सुरक्षा रणनीतिबारे छलफल गर्न सबै राज्यका प्रिमियर तथा मुख्यमन्त्रीको बिहीबार क्यानबेरामा महत्त्वपूर्ण बैठक समेत भएको छ । सवारी चालक अनुमति पत्रलाई पहिचानका रूपमा प्रयोग गरी आतंकवादसँग सम्बन्धित व्यक्तिको सहज पहिचान गर्न सकिने प्रविधिलाई प्रयोगमा ल्याइने भएको छ । यो प्रविधिमा आधारित रहेर यहाँका विमानस्थल र सुरक्षा संयन्त्रमा अनुहार पहिचान गर्न सक्ने उपकरण आउँदो वर्षको सुरुवातसम्ममा प्रयोगमा ल्याइने बताइएको छ । आतंकवादको मुद्दामा सजाय भोगिसकेका व्यक्तिलाई पनि सुरक्षा निकायले आवश्यक ठानेमा न्यायाधीशको अनुमतिमा पुन: बिनाकुनै कसुर दुई सातासम्म हिरासतमा लिन सक्नेछन् । अस्ट्रेलियाका विभिन्न राज्यमा यस सम्बन्धमा अलगअलग कानुन भए पनि प्रधानमन्त्री टर्नबुलले ती कानुनलाई प्रतिस्थापन गर्ने गरी नयाँ नियम ल्याउन लागेको बताएका छन् । टर्नबुलले राष्ट्रिय सुरक्षाका लागि आफू अत्यन्तै गम्भीर रहेको बताएका छन् । उनले आतंकवादसँग सम्बन्ध राख्ने कुनै पनि किसिमका सन्दर्भ सामग्री राख्न पनि गैरकानुनी हुने कानुन निर्माण गरिने जनाए । दोस्रो ठूलो राज्य भिक्टोरियाले करिब दुई साताअघि प्रतिआतंकवाद सुरक्षा संयन्त्रको घोषणा गरेको थियो । सहायक कमान्डर रस गुवेन्थरको कमान्डमा रहने यसले अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा काम गर्ने तर आतंकवादी गतिविधिलाई निष्तेज पार्ने मुख्य उद्देश्यका साथ खटिने बताइएको छ । विश्वका विकसित देशहरूमा आतंकवादी आक्रमण बढेसँगै अस्ट्रेलियाले समेत सुरक्षा रणनीतिलाई दरिलो बनाउँदै लगेको हो । अहिलेसम्म ठूलो आतंकवादी गतिविधि नभए पनि छिटफुट रूपमा अस्ट्रेलियामा समेत आतंकवादी आक्रमणका प्रयास भएका छन् । केही समयअघि मात्र सिड्नीमा एक जहाजमा बम राखेर आतंकवादी आक्रमण गर्न गरिएको प्रयास सुरक्षा निकायले विफल बनाएको थियो ।

विदेश

‘बन्दुकधारी शान्त र दयालु’

लस भेगास गोलीकाण्ड

वासिङ्टन (बीबीसी)– अमेरिकाको लस भेगासमा ५८ जना मानिसको हत्या गर्ने बन्दुकधारीकी प्रेमिकाले उनको योजनाबारे आफूलाई केही थाहा नभएको बताएकी छन् । उनकी प्रेमिका मार्लो डेन्लीले बन्दुकधारी स्टेफन प्याडक एक शान्त, दयालु र स्नेही व्यक्ति भएको दाबी गरिन् । प्याडकले लस भेगासको एक सांगीतिक कार्यक्रममा गोली चलाएको समय डेन्ली फिलिपिन्समा थिइन् ।गोलीकाण्डपछि उनलाई अमेरिका झिकाई संघीय जाँच ब्युरो (एफबीआई) ले सोधपुछ गर्ने जनाएको छ । अनुसन्धानकर्ताले घटनाको उद्देश्यबारे बुझ्न उनीसँग बयान लिन लागेका बताएका छन् । उनीहरूले उनकी प्रेमिकामार्फत थप सूचना प्राप्त गर्न मद्दत पुग्ने आशा लिएको बताए । प्याडकले कसैका विरुद्ध हिंसाको योजना बनाइरहेको कुरा आफूले कहिल्यै नचिताएको उनको भनाइ छ ।
अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगासमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको जनाएको छ । प्रहरीले प्याडकले ‘गोप्य जीवन’ बिताइरहेको धारणा सार्वजनिक गरेको केही घण्टापछि डेन्लीको प्रतिक्रिया आएको छ । एफबीआईले अहिलेसम्म घटनाको सम्बन्ध आतंकवादसँगको रहेको तथ्य फेला नपरेको बताएको छ । लस भेगास प्रहरीले उनी आक्रमणलगत्तै भाग्ने योजना बनाएको भए पनि असफल भएको दाबी गरेको छ । प्रहरीले उनीसँगको सम्बन्ध र प्याडकको विगतको बानीबेहोरोबारेमा पनि उनीसँग बुझ्ने बताएको छ । अमेरिकी प्रहरीले ६२ वर्षीया मार्लोलाई हिरासतमा नलिइने जनाएको छ । उसले भनेको छ, ‘उनी जहाँ उपस्थित हुन चाहन्छिन्, सोही स्थानमा पुगेर हामीले अनुसन्धान गर्नेछौं ।’ प्याडकले नरसंहार गर्नुअघि उनलाई १ लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको छ । प्याडकले डेन्लीलाई फिलिपिन्समा घर किन्न पैसा पठाएका थिए । सोही कारण पनि उनीसँग सो कुरा बुझ्न खोजेको हो । डेन्लीले भनिन्, ‘म आभारी थिएँ, तर इमानदारीपूर्वक भन्दा त्यो मबाट छुट्टिने उपाय हो भन्ने मेरो चिन्ता थियो ।’ हाल फिलिपिन्समा बस्दै आएकी डेन्ली अस्ट्रेलियन नागरिक हुन् । उनी करिब २० वर्षअघि क्यासिनोमा काम गर्न अमेरिका पुगेपछि प्याडकसँग भेट भएको थियो । बिदा मनाउन फिलिपिन्स गएकी डेन्लीले त्यहाँबाट फर्किएपछि बुधबार अमेरिकी गुप्तचर संस्थासँग कुरा गरेपश्चात प्याडकले गरेको ‘वर्णन गर्न नसकिने भयानक हिंसा’ बाट स्तब्ध भएको उल्लेख गरेकी छन् । अमेरिकी अधिकारीहरूले आफ्नो अनुसन्धानमा उनलाई संदिग्ध व्यक्तिको रूपमा लिएको र घटनालगत्तै उनीसँग सम्पर्क गरेको जनाएका छन् । ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकले लस भेगासमा आइतबार राति भएको सांगीतिक कार्यक्रम हेर्न जम्मा भएको भीडमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणमा ५९ जनाको ज्यान गइसकेको छ । ५ सय २७ भन्दा बढी घाइते छन् । उनी बसेको होटलको ३२ औं तलाबाट अत्याधुनिक स्वचालित बन्दुकले आक्रमण गरिएको अधिकारीको भनाइ छ ।

विदेश

क्याटालोनिया स्वतन्त्रतामा अदालतको बन्देज

म्याड्रिड (बीबीसी)– स्पेनी संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने तयारी स्थगित गरेको छ । अदालतले उक्त कदम ‘संविधानको उल्लंघन’ भएको जनाउँदै आगामी साता हुने क्याटालान संसद्को बैठक स्थगित गरेको हो । क्याटालान नेता कार्लस् पुइग्देमोन्टले सोमबार हुने संसद्को बैठकले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने बताउँदै आएका थिए । यसअघि स्पेनी सरकारले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने तयारीलाई ‘ब्याल्याकमेल’ को संज्ञा दिएको छ । स्वतन्त्र प्रदेश घोषणा गर्न सरकारले हस्तक्षेप गरे त्यसको प्रतिकार गर्ने स्वायत्त प्रदेशका नेता कार्लस् पुइग्देमोन्टले बताएपछि सरकारले प्रतिक्रिया दिएको थियो । नेताहरूले यसै साता क्याटालोनिया स्पेनबाट भिन्न भएको घोषणा गर्ने बताएका छन् । उनले राजाले क्याटालोनियाका जनाताको मतको अवमूल्यन गरेको आरोपसमेत लगाए । सरकारले विज्ञप्ति जारी गर्दै पुइग्देमोन्टलाई कानुनी प्रक्रियाको बाटोमा फर्केपछि मात्रै कुनै पनि वार्ता हुन सक्ने जनाएको छ । सरकारले जनमतसंग्रह सरकार विपरीत कार्य भएको बताउँदै आएको छ । जनमतसंग्रहले स्पेन कठिन मोडमा पुगेको सरकारको दाबी छ । गत मंगलबार स्पेनी राजा फेलिप छैटौंले जनमतसंग्रह गराएर क्याटालोनियाका नेताले सरकार तथा प्रजातान्त्रिक मूल्यमान्यताको अनादर गरेको दाबी गरेका थिए । फेलिपले जनमतसंग्रह गैरकानुनी र गैरप्रजातान्त्रिक भएको दाबी गर्दै आएका छन् । क्याटालोनिया भिन्न राज्यमा विभाजित भए स्पेनले नै विभिन्न खतराको सामना गर्नुपर्ने उनको भनाइ छ । गत आइतबार भएको चुनावमा ९० प्रतिशतले मतदान गरेको क्याटालान अधिकारीको भनाइ छ । स्वतन्त्रताका लागि गरिएको प्रदर्शनलाई स्पेनी प्रहरीले हस्तक्षेप गर्न खोज्दा करिब २ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए । मतदानमा क्रममा भएको झडपमा ३३ प्रहरी घाइते भएको सरकारले बताएको छ ।

Page 15
खेलकुद

तीन राष्ट्रको संयुक्त दाबेदारी

शतवार्षिकी विश्वकप
दाबेदारी घोषणाको पत्रकार सम्मेलनमा राष्ट्रपतित्रय होरासियो कार्टेस (पाराग्वे), मौरिचियो माक्री (अर्जेन्टिना) र ताबारे भाज्केज (उरुग्वे) ।तस्बिर : रोयटर्स

ब्युनस आयर्स (एएफपी)– अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सन् २०३० मा हुने फिफा विश्वकपका लागि संयुक्त दावेदारी प्रस्तुत गर्ने भएका छन् । तीनै राष्ट्रका राष्ट्रपतिले बुधबार पत्रकार सम्मेलन गर्दै विश्वकपको सयौं वर्ष संयुक्त रूपमा योजना गर्ने निर्णय लिएका हुन् । पाराग्वेका राष्ट्रपति होरासियो कार्टेसले अगस्टमा अजेन्र्टिना र उरुग्वेले सामूहिक दाबेदारी प्रस्तुत गरेमा आफू पनि त्यसमा सामेल हुने बताएका थिए । उरुग्वे सन् १९३० मा आयोजित पहिलो फिफा विश्वकपको आयोजक एवं विजेता टोली हो । कार्टेसले बुधबार अर्जेन्टिनी राष्ट्रपति मौरिचियो माक्री र उरुग्वेका राष्ट्रपति ताबारे भाज्केजसँग भेटवार्ता गरेर अन्तिम निर्णय सुनाएका थिए ।‘दाबेदारी प्रस्तुत गर्न पहिलो बैठक नोभेम्बर पहिलो सातामा राखिने छ,’ उनले भने, ‘अन्य राष्ट्रले पनि शतवार्षिकी विश्वकप आयोजना गर्न खोजिरहेका छन् । तर उरुग्वेले आयोजना गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’दक्षिण अमेरिकाबाट ब्राजिलले पछिल्लो पटक सन् २०१४ मा विश्वकप आयोजना गरेको थियो । त्यसैले सन् २०३० मा दाबेदारी प्रस्तुत गर्दा एसियाली राष्ट्र चीनबाट बलियो प्रतिस्पर्धा हुने विश्वास गरिएको छ । सन् २०१८ को विश्वकप रसियामा हुँदै छ भने २०२२ मा कतारले आयोजना गर्ने जिम्मा पाएको छ । सन् २०२६ मा हुने विश्वकपका लागि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाको सामूहिक दाबेदारीलाई मोरोक्कोले टक्कर दिँदै छ । सन् २०२६ बाट विश्वकपमा ३२ राष्ट्रको स्थानमा ४८ राष्ट्रले सहभागिता जनाउने छन् ।

खेलकुद

सिरिया र अस्ट्रेलिया बराबर

विश्वकप छनोट प्लेअफ
सिरियाका ओमार अल (बायाँ) बराबरी गोल गरेपछि साथीसँग खुसी साट्ने क्रममा ।

मलाका (एएफपी)– ओमार अल सोमाले खेलको अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेपछि सिरियाले अस्ट्रेलियालाई विश्वकप छनोटअन्तर्गत प्लेअफमा १–१ को बराबरीमा रोकेको छ । रोबी क्रुजले पहिलो हाफमा गरेको गोलमा अस्ट्रेलियाले अग्रता लिएको थियो । तर, ८४ औं मिनेटमा म्याथ्यु लेकीले सोमालाई पेनाल्टी क्षेत्रभित्र फाउल हानेपछि सिरियाले बराबरी गर्ने मौका पायो । अग्ला कदका फरवार्ड सोमाले पेनाल्टीमा गोल गर्दै बराबरीमा ल्याएका थिए ।बराबरीसँगै प्लेअफको छिनोफानो मंगलबार सिड्नीमा हुने दोस्रो खेलको नतिजाले गर्नेछ । प्लेअफ विजेताले विश्वकप प्रवेशका लागि कन्काकाफको टोलीसँग अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । उक्त खेलको विजेताले सन् २०१८ को रसिया विश्वकपमा सहभागिता जनाउने छ । गृहयुद्धका कारण मलेसियामा घरेलु खेल खेलिरहेको सिरिया पहिलोपल्ट विश्वकपमा छनोट हुने दाउमा छ । यता अस्ट्रेलिया लगातार चौथोपल्ट विश्व फुटबलको महाकुम्भमा सहभागिता जनाउने प्रयासमा हुनेछ ।सिरियाली समर्थकको बाहुल्यता रहेको हाङ जेबाट रंगशालामा दुवै टोलीले सुदृढ सुरुआत लिन सकेनन् । अस्ट्रेलियाका मार्क मिलिगनले १९ औं मिनेटमा गरेको प्रहार गोलरक्षक महमुद अल युसुफले बचाए । लगत्तै अर्कोतर्फ अल सोमाले पनि सिरियालाई आक्रमणमा लगे । सोमाले सहकर्मी ओमार खिर्बिनलाई लगातार दुईपल्ट उपलब्ध गराएको पासमा गोल गर्न नसक्दा खेल बराबरीमा रह्यो । पहिलो हाफको पाँच मिनेट समय बाँकी रहँदा लेकीले पेनाल्टी क्षेत्रको दायाँतर्फबाट हानेको सट क्रुजको खुट्टामा लाग्दै गोल भएको थियो ।दोस्रो हाफमा टमी ज्युरिकको दुई वटा प्रहार क्रसबारमा लागेर फर्कंदा अस्ट्रेलिया अभागी साबित भयो । अन्तिम समयमा अस्ट्रेलियाका ट्रेन्ट सेन्सबरीको हेडर र सिरियाका मोयद अल अजानको प्रहार विपक्षी गोलरक्षकले बचाए ।

खेलकुद

बंगलादेशलाई गल्ती सुधार्ने मौका

ब्लोमफोन्टेन (एएफपी)– आफ्ना लागि सुहाउँदो परिस्थितिको पहिलो टेस्टमा फाइदा लिन नसकेको बंगलादेशसँग वर्षौंपछि अनुभवहीन बलिङ टोली उतार्न लागेको दक्षिण अफ्रिकाविरूद्ध गल्ती सुधार्ने राम्रो अवसर छ । तर शुक्रबार सुरु दोस्रो टेस्टको मानगङ ओवल मैदान बलिङमैत्री छ । चोटका कारण प्रमुख चार बलर मोर्ने मोर्केल, डेल स्टेयन, भेर्नोन फिलान्डर र क्रिस मोरिस गुमाए पनि पहिलो टेस्टको प्रदर्शन हेर्दा बंगलादेशलाई दक्षिण अफ्रिका झेल्न सजिलो हुने छैन । चोटका कारण मोर्केलले पहिलो टेस्ट पूरा खेल्न सकेका थिएनन् ।
यस्तो अवस्थामा २२ वर्षे कागिसो रडाबा बंगलादेशविरूद्ध उत्रन लागेको दक्षिण अफ्रिकी टोलीका प्रमुख बलर हुनेछन् । उनले २१ टेस्टमा ९२ विकेट लिएका छन् । उनको ओपनिङ जोडीका रूपमा डुएन ओलिभर, वायने पार्नेल र एन्डीले फेल्हलुकवायो हुनसक्ने छन् । ओलिभरले ४ टेस्टमा १३ र पार्नेलले ५ टेस्टमा १३ विकेट लिएका छन् । बंगलादेशसँगको पहिलो टेस्टमा ‘डेब्यू’ गर्दै फेल्हुलुकवायोले १ विकेट लिएका थिए । देव्रेहाते स्पिनर केशव महाराजको उपस्थितिले दक्षिण अफ्रिकाको बलिङ टोली केही मात्रामा सन्तुलित देखिन्छ । उनी आधुनिक समयका उत्कृष्ट दक्षिण अफ्रिकी स्पिनर मानिन्छन् । बंगलादेशसँगको पहिलो टेस्टमा ७ विकेट लिँदै उनले आफूले खेलेको १२ टेस्टमा व्यक्तिगत ५० विकेट पुर्‍याएका थिए । पहिलो टेस्टमा ३ सय ३३ रनको विशाल विजय हात पारे पनि दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिस दोस्रो टेस्टको मैदानमा थप पेस र बाउन्सी विकेट भएकोमा स्पष्ट छन् । ‘बंगलादेशजस्तो टोलीसँग खेल्दा सुहाउँदो परिस्थितिको जति फाइदा आउँछ त्यो लिनु महत्त्वपूर्ण हुन्छ,’ उनले भने । मौसमको स्थितिले पनि टेस्टमा प्रभाव पार्न सक्छ । दक्षिण अफ्रिकामा भर्खर जाडो सिजन सुरु भएको छ । ब्लोमफोन्टेन पहिलो टेस्ट भएको पोटेफस्ट्रोमबाट २ सय ८० किलोमिटर टाढा पर्छ । ब्लोमफोन्टेनमा पनि राति निकै चिसो हुनाले बिहानीसत्रमा पिचको घाँस बढ्न अवरोध हुँुदा प्रभावित हुने गर्छ । यस सिजन ओभलमा खेलिएको एकमात्र प्रथम श्रेणी खेलमा पहिलो दिन नै ११ विकेट झरेको थियो ।

खेलकुद

लमजुङमा छैन गतिलो पूर्वाधार

- आश गुरुङ
मस्र्याङदी गाउँपालिका ५, बाहुनडाँडाको जीर्ण खेलमैदानमा आयोजना गरिएको फुटबल प्रतियोगिता खेल्दै महिला खेलाडी ।तस्बिर : आश/कान्तिपुर

लमजुङ– बेंसीसहरको एकमात्र खेल मैदान सहजी रंगशालामा गत वर्ष इलेभेन–ए साइडमा फुटबल खेलाइयो । तर मैदानमा तोकिएको मापदण्ड छैन ।वर्षायामको बाढीपहिरोले उक्त मैदानलाई पुन: समस्याग्रस्त बनाएको छ । अब पुस दोस्रो साता फुटबल प्रतियोगिता हुँदा मर्मत गर्नुपर्ने हुन्छ । सहरमा मात्रै होइन, ग्रामीण भेगका खेलमैदानको पूर्वाधार र संरचना दुवै कमजोर छन् । मस्र्याङदी गाउँपालिका ६, बाहुनडाँडामा यसपटक तीजको अवसर पारेर साताभर फुटबल स्पर्धा भएको थियो । खुला महिला तथा पुरुष फुटबल प्रतियोगिता हिलोमै सञ्चालन गरियो । मैदानको अवस्था कर्नरसमेत हान्न नमिल्ने छ । गोलपोस्टको खम्बा बाँसका थिए । मैदानमा जाने बाटो समेत राम्रो छैन । ‘खेलको विकास गाउँगाउँबाट’ भन्ने नारा झुन्डयाएर मैदानमा एक दशकयता फुटबल प्रतियोगिताहरू भइरहेका छन् । उक्त प्रतियोगिता उत्तरी क्षेत्रकै सबैभन्दा ठूलो मानिन्छ । बाहुनडाँडास्थित योङ स्टार क्लबका उपाध्यक्ष विष्णु गुरुङ भन्छन्, ‘खेलको भौतिक पूर्वाधारका लागि न सरकारी निकायले हेर्छ, न निजी क्षेत्रले नै । खेल आयोजना हुने बेला मैदान आफैं मर्मत गर्नुपर्ने बाध्यता छ । दीर्घकालीन सहयोग कसैको छैन ।’ जिल्लामा प्राय: हरेक चाडपर्वका अवसर पारेर विभिन्न खेलकुद र विशेषत: फुटबल प्रतियोगिता हुँदै आएको छ । भलिबल र बास्केटबल प्रतियोगिता खासै हुँदैन । दसैंतिहार, लोसार, माघे संक्रान्ति, शिवरात्रि, चैतेदसैं, तीज लगायतका चाडपर्वमा फुटबल स्पर्धा हुँदै आएको छ । हरेकपल्ट मैदान निर्माणका लागि स्थानीयले आफैं वा विदेशमा रहेका आफन्तबाट सहयोग जुटाउँदै आएका छन् । ती सहयोग सबै कामचलाउ मात्रै हुँदै आएका छन् । प्रतियोगिताका लागि पनि विदेशमा रहेका आफन्तसँग सहयोग माग्नुपर्ने गुनासो गर्छन् एन्फाका रेफ्रीसमेत रहेका उपाध्यक्ष गुरुङ । मैदान निर्माण र मर्मतका लागि सरकारी पक्षबाट बजेट विनियोजन हुन नसकेको लमजुङ फुटबल एकेडेमीका प्रशिक्षक इन्द्र राना बताउँछन् । उनका अनुसार पहिले जिविस, नगरपालिका, गाविसले मात्रै नभएर अहिले स्थानीय निकायले पनि खेलकुद पूर्वाधार र संरचना निर्माण र मर्मतमा खासै बजेट विनियोजन गरेको छैन ।

जिल्लाका सहरदेखि ग्रामीण भेगका हरेक गाउँमा फुटबल खेल्न मिल्ने मैदान छन् । साविकको ६१ गाविसमा मात्रै नभई प्राय: टोलटोलमै फुटबल मैदान रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बस्नेतले बताए । अहिलेको ८ स्थानीय तहको ७५ वटै वडामा खेल मैदान छ । तर ती सबै भौतिक पूर्वाधारले पर्याप्त छैनन् । ‘कुनै खेल मैदान जीर्ण छ । कुनै मर्मत गरेरमात्रै खेल्न मिल्ने खाले छ,’ उनले भने, ‘खेलकुदको विकास र खेल पर्यटनका लागि बजेट नहुनु दुर्भाग्य हो ।’ सबै मिलेर पहल गरेमा खेलकुद र खेल पर्यटनको विकास गर्न सकिने उनले बताए । ‘केही राष्ट्रिय खेलाडी समेत लमजुङले उत्पादन गरिसकेको छ,’ अध्यक्ष बस्नेतले भने, ‘यहाँ राष्ट्रिय खेलाडी बन्न लायक प्रतिभा छन् । तर भौतिक पूर्वाधार र संरचनाको अभावमा उनीहरूले राम्रो प्रशिक्षण गर्न नपाउँदा उनीहरूको प्रतिभा निखारिन नपाउँदै हराउने गर्छ ।’

Page 16
खेलकुद

नेपालको ऐतिहासिक सहभागिता

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप
- कान्तिपुर संवाददाता
जापानस्थित योसिनो नदीमा अभ्यास गर्दै नेपाली र्‍याफ्टिङ टिम । साथमा नेपाली खेलाडी ।तस्बिर सौजन्य : हिमायलन रिभर गाइड एसोसिएसन

काठमाडौं– पहिलोपल्ट राष्ट्रिय प्रतियोगितामार्फत् छनोटको आयोजना । त्यसपछि नदी र बाहिरको तयारी अनि अन्तिम १० दिन प्रतियोगितास्थलमै प्रशिक्षण । यसैसाथ नेपाली टिम शुक्रबार विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छ ।जापानको मियोहिसी तोकुसिमास्थित योसिनो नदीमा विश्व च्याम्पियनसिपको औपचारिक उद्घाटन मंगलबार नै भएको थियो । नेपाली टिम पुरुषतर्फ खुला स्पर्धामा प्रतिस्पर्धा गर्न लागेको हो र यो स्पर्धा शुक्रबार सुरु हुँदै छ । यसको पहिलो दिन स्प्रिन्ट र हेड टु हेडमा प्रतिस्पर्धा हुनेछ । शनिबार आराम दिइएको छ भने आइतबार स्लालममा चुनौती दिनेछ । च्याम्पियनसिपको अन्तिम दिन सोमबार डाउन रिभरको प्रतिस्पर्धा हुनेछ ।‘तयारी राम्रो भएको छ,’ करिब ३० लाख रुपैयाँ बढी खर्च गरी विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टिमको तयारी र व्यवस्थापन गरेको हिमालयन रिभर गाइड एसोसिएसनका अध्यक्ष मनीष राईले जापानबाट कान्तिपुरसँग भने, ‘प्रशिक्षकको व्यवस्था गर्दै नेपालमै फिटनेस र रिभरमा प्रशिक्षणको गरायौं । खेलाडीलाई सक्दो सहयोग गरेर विश्व च्याम्पियनसिपमा आइपुगेका छौं । उनीहरूले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ । यो हाम्रो ऐतिहासिक सहभागिता हो र यसमा राम्रो गर्दै भविष्यलाई सम्भावनाका थप अवसरहरू सिर्जना गर्न चाहन्छौं ।’पुरुषतर्फको खुला स्पर्धामा नेपालसँगै १७ देशका टिम सहभागी भएका छन् । यसमा दक्षिण एसियाको एक्लो टिम हो नेपाल । त्रिशूली नदीमा फागुनमा भएको राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा विजेता भएको नेपाल कायक क्लबका सात खेलाडीले विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गर्दै छन् । दर्जन टिम सहभागी राष्ट्रिय प्रतियोगितामा मानबहादुर काडेल, विशाल गुरुङ, हरि आलेमगर, रोशन लामा, विनोद गुरुङ, प्रकाश गुरुङ र टकबहादुर गुरुङको कायक क्लब १ हजार अंकसहित च्याम्पियन भएको थियो । पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी उनीहरू रिभर गाइड हुन् ।
नेपाली रिभर गाइड विश्वमै प्रख्यात छन् । त्यसैले र्‍याफ्टिङ, क्यानोइङ, कायकमा माहिर उनीहरूलाई कमजोर आँक्न भने मिल्दैन । सबै खेलाडीले घरेलु नदीहरूमा ६ वर्षदेखि १३ वर्षसम्म डुंगा खियाएका छन् ।

अरु देशमा पनि उनीहरूले कला देखाइसकेका छन् । ‘हामी अनुभवी रिभर गाइड हौं तर पहिलोपल्ट विश्व च्याम्पियनसिपमा सहभागी हुँदै छौं । त्यसैले हामीलाई सजिलो हुने छैन,’ नेपाली टिमका कप्तान हरि आलेले भने । च्याम्पियनसिपमा ६ जनाले डुंगा खियाउने छन् र एक खेलाडी वैकल्पिक रहने छन् ।नेपाली टिमका प्रशिक्षक विष्णु गुरुङले तयारी राम्रो भएको बताए । उनले भने, ‘हामीले नेपालमा पनि अभ्यास र तयारीका अरु कार्यहरू गरेका थियौं । तर विश्व च्याम्पियनसिप हाम्रा लागि नयाँ वातावरण र फरक नदीमा हुँदै छ । एकैपल्ट ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । त्यसैले राम्रो नतिजा निकाल्ने लक्ष्य छ । हामी कुनै पनि पदक जित्न चाहन्छौं ।’ नेपाली टिमलाई आर्मीका राजीव चन्दले शारीरिक अभ्यास गराएका थिए । जापानमा पनि नेपाली खेलाडीको फिटनेस उनैले हेरिरहेका छन् ।विश्व च्याम्पियनसिपमा कुल २३ देशका ७१ टिम सहभागी छन् । उनीहरूले खुला, मास्टर (३० वर्षमाथि), जुनियर (२३ वर्षमुनि) र युवा (१९ वर्षमुनि) गरी चार स्पर्धामा खेल्दै छन् । सबै स्पर्धामा पुरुष र महिलाका टिम सहभागी छन् । च्याम्पियनसिपको मुख्य आकर्षण पुरुषतर्फको खुला स्पर्धा नै हो र यसैमा नेपालले पहिलोपल्ट प्रतिस्पर्धा गर्दै छ ।

खेलकुद

इटालीको यात्रा कठिन बन्दै

विश्वकप छनोट

प्रशिक्षक जियामपिएरो भेन्चुरा 

मिलान (एएफपी)– चोटग्रस्त रहेको इटालियन फुटबल टिमका प्रशिक्षक जियामपिएरो भेन्चुराले इटाली विश्वकपमा छनोट हुन नसके देशको फुटबलमा ठूलो धब्बा लाग्ने बताएका छन् । समूह ‘जी’ को अंकतालिकामा स्पेन शीर्षस्थानमा छ भने इटाली दोस्रोमा छ । विश्वकप छनोटको अन्तिम दुई खेलमा इटालीले म्यासेडोनिया र अल्बानियाको सामना गर्दै छ । म्यासेडोनियासँग शुक्रबार टुरिनमा खेलेपछि टोलीले तीन दिनपछि अल्बानियामा खेल्नेछ ।चारपल्टको विश्वकप विजेता इटालीलाई दोस्रो स्थान पक्का गर्न यी दुई खेलबाट १ अंक आवश्यक छ । समूहको शीर्षस्थानमा रहने टोली स्वत: विश्वकपलाई छनोट हुनेछ भने दोस्रो स्थानका उत्कृष्ट ८ टोलीले प्लेअफ खेल्नेछन् । तर इटाली दुवै खेल जितेर विश्व वरीयतामा आफ्नो स्थान सुदृढ बनाउँदै प्लेअफमा फाइदा खोज्ने दाउमा हुनेछ । ‘म अहिले प्लेअफबारे सोचिरहेको छैन । हामीले दुई महत्त्वपूर्ण खेल खेल्नु छ । त्यसपछि मात्र प्लेअफ समीकरणबारे सोच्नेछौं,’ प्रशिक्षक भेन्चुराले भने ।एएस रोमाका कप्तान डानियल डी रोसी घुँडाको चोटका कारण अनुपस्थित भएपछि उनको स्थानमा इन्टर मिलानका रोबर्टो जिलार्डिनी टोलीमा आएका छन् । यसबाहेक लोरेन्जो पेलेग्रिनी, मार्को भेर्राट्टी र आन्द्रिए बेलोट्टी पनि साधारण चोटका कारण टोलीमा छैनन् ।‘चोट खेलको एउटा पाटो हो । हाम्रा तीन महत्त्वपूर्ण खेलाडी चोटका कारण टोलीमा छैनन् । तर उनीहरूको स्थानमा खेल्ने खेलाडीले आफ्नो महत्त्व देखाउनेमा म विश्वस्त छु,’ उनले भने, ‘हामी इटाली हौं र हामीले अझै धेरै सिद्ध गर्न बाँकी छ । अहिले हामीसँग छोटो समय छ जुन नयाँ प्रयोग गर्न सम्भव छैन । त्यसैले हामी सक्दो प्रयास गर्नेछौं ।’इटालीले शुक्रबार म्यासेडोनियासँग खेलपछि तीन दिनपछि अल्बानिया जानेछ । अल्बानियाविरुद्ध सोमबार हुने खेल इटालीको ८०० औं अन्तर्राष्ट्रिय खेल हुनेछ भने अल्बानियामा गएर खेलेको पहिलो ।

खेलकुद

भेट्रान टोली कोलम्बोतिर

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कोलम्बो म्याराथनअन्तर्गत मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ११ भेट्रान खेलाडीले सहभागिता जनाउने भएका छन् । अक्टोबर ८ मा हुने च्याम्पियनसिपमा हाफ म्यारथनमा ४, १० किमिमा ४ र ५ किमिमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीले जनाएको छ । कोलम्बो जाने टोलीलाई बिहीबार कमिटीका अध्यक्ष जीएन शर्माले बिदाइ गरे । त्यसतर्फ जाने खेलाडीमा रमेश शाक्य, गोपाल महर्जन, नरेन्द्र महर्जन, सुरज महर्जन, दीपक जोशी, त्रिरत्न मानन्धर, हेराकाजी महर्जन, प्रेमकृष्ण खड्गी, रमेश डंगोल, जयराम खड्का, चन्दनलाल चौधरी छन् । टिम म्यानेजरमा भैरव शाही छन् ।

खेलकुद

चाडपर्वमा खेलकुद गतिविधि बढयो

- मोहन बुढाऐर
वीर बेताल मेला तथा दसंै–तिहारको अवसरमा आयोजित भलिबल प्रतियोगिता हेर्दै स्थानीय ।तस्बिर : मोहन/कान्तिपुर

डडेल्धुरा– दसंै–तिहारका अवसरमा पहाडी जिल्ला डडेल्धुरामा खेलकुद गतिविधि बढेको छ । चाडपर्वको रमाइलो र शुभकामना आदानप्रदान गर्न गाउँबस्तीमा खेलकुद प्रतियोगिता हुने गरेका छन् ।
‘खेलकुद गतिविधि प्राय: शून्य रहने जिल्लामा दसंै–तिहार खेलाडी र खेलप्रेमीका लागि अवसर बनेर आउँछ,’ जिल्ला खेलकुद विकास समिति डडेल्धुराका प्रमुख डम्बरबहादुर भण्डारीले भने, ‘स्थानीयस्तरबाटै भलिबल, फुटबल र क्रिकेटका प्रतियोगिताहरू आयोजना भइरहेका छन् ।’ चाडपर्वमा हुने खेलकुद गतिविधिले खेल विकासमा महत्त्वपूर्ण टेवा पुगिरहेको उनको दाबी छ । उनका अनुसार राष्ट्रपति रनिङ सिल्डबाहेक जिल्ला खेलकुद बिकास समितिबाट खेलकुद गतिविधि भएका छैनन् । ‘पहाडी जिल्ला भएकाले निजी क्षेत्र पनि खेलकुद गतिविधि गर्न कोही अग्रसर हँुदैनन्,’ भण्डारीले भने, ‘त्यसैले चाडपर्वमा हुने खेलकुद प्रतियोगिताको महत्त्व हुन्छ ।’ दसैं र तिहारका अवसरमा सबै गाउँबस्तीमा खेलकुद गतिविधि भइरहेको पाइन्छ । पहाडी जिल्लामा मैदान अभावले फुटबल र क्रिकेटभन्दा बढी भलिबल आयोजना हुने गर्छ । भलिबलका प्रशिक्षक नरेशबहादुर थापाले पहाडमा भलिबल बढी लोकप्रिय रहेको बताए । उनका अनुसार दसैं–तिहारमा सबैभन्दा बढी भलिबल प्रतियोगिता नै हुने गर्छ । चाडको बिदामा घर फर्केका र स्थानीय युवाहरूले खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छन् । ‘चाडपर्वको रमाइलो भलिबल प्रतियोगितासँग जोडिएका छन्,’ डडेल्धुराका भलिबलप्रेमी उदयसिंह ढाटले भने, ‘यसले गाउँबस्तीको वातावरण भलिबलमय बनाएको छ ।’ घरमा चाडपर्व मनाएर बालकदेखि बुढासम्म भलिबल हेर्न हुरुक्क हुने उनको दाबी छ । सरकारबाट राष्ट्रिय खेलको घोषणा भएसँगै भलिबलको रौनकता झन् थपिएको छ ।उनका अनुसार दसंै/तिहारको बीचमा प्राय: सबै गाविस तथा नगरपालिकामा स्थानीय स्तरबाट भलिबल प्रतियोगिता आयोजना भइरहेका छन् । ‘प्रतियोगिताका विजेता टिमलाई खसी/बोका पुरस्कार राखिएको हुन्छ,’ उनले भने, ‘यसले पनि खेलमा रौनक थपिन्छ ।’यसैबीच डडेल्धुरा शिक्षा क्याम्पसको स्ववियूद्वारा आयोजित प्रदेश नम्बर ७ स्तरीय भलिबल सकिएको छ । असोज ७–१० सम्म भएको प्रतियोगिता विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार नगद पुरस्कार जितेका थिए । मिलन थापा स्मृति खुला भलिबल जिल्लाको भित्री मधेस जोगबुढामा असोज १७ देखि आयोजना भइरहेको छ । शीर्ष तीनस्थानका विजेताले क्रमश: २५, १५ र १० हजार पुरस्कार पाउने छन् । ७ नम्वर प्रदेशको सबैभन्दा ठूलो राशिको डडेल्धुरा मेयर कप प्रतियोगिता असोज २५ देखि २९ सम्म खलंगामा हुने भएको छ । विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रो हुने टिमले ५० हजार नगद पुरस्कार जित्ने छन् ।

खेलकुद

नेपाली खेलाडी पराजित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– म्यानमारमा भइरहेको एसिया यू–१५ र यू–१७ ब्याडमिन्टन प्रतियोगितामा नेपाली खेलाडी प्रफुल महर्जन, प्रिन्स दाहाल र रसिला महर्जन दोस्रो चरणमा पराजित भएका छन् ।बिहीबार बिहान यू–१७ पुरुष एकलमा प्रफुल इन्डोनेसियाका मोहम्मद युसुफ मौलानासँग २१–१०, २१–११ ले पराजित भएका थिए । यू–१५ एकलमा प्रिन्स पनि इन्डोनेसियाकै मोहम्मद सुल्तान नुराविरुसँग पराजित भए । पहिलो सेट २१–१२ ले जितेका प्रिन्स दोस्रो र तेस्रो सेट १५–२१, १६–२१ ले गुमाएपछि पराजित हुन पुगे । महिला एकलतर्फ रसिला इन्डोनेसियाकी विदजाजा स्टेफेनसँग २१–११, २१–३ ले पराजित भइन् । यू–१७ महिला एकलमा जेसिका गुरुङ इन्डोनेसियाकी देवी केसँग २१–६, २१–८ ले पराजित भएकी छन् ।

Page 17
हेल्लो शुक्रवार

मिस टेक

- विजय तिमल्सिना

नेपालमा दुई दशकयता ब्युटी प्याजेन्टहरु खहरे खोलाजस्तै बढिरहेका छन् । यसैलाई व्यक्तित्व विकासका रुपमा लिने युवतीहरु ठूलै संख्यामा छन् । गत वर्षदेखि ‘मिस टेक’ सुरू भयो र दोस्रो संस्करण पनि दसैंअघि सम्पन्न भयो । मिस टेक सुन्दरी प्रतियोगिता होइन, युवतीहरुले बनाएको नौलो प्रविधिको प्रतिस्पर्धा हो । यो प्रतियोगिता युवतीहरुका लागि आकर्षक प्लेटफर्म बन्दै गएको छ ।


पोखराकी सुमित्रा खड्का र सुविना शर्मा अनि काठमाडौंकी सन्ध्या गुरागाईंको भेट माइक्रोसफ्ट स्टुडेन्ट पार्टनरसिप प्रोग्रामको सिलसिलामा भएको थियो । सुमित्रा र सुविना पश्चिमाञ्चल क्याम्पसमा इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरका विद्यार्थी हुन् । उनीहरूको काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययन गरिरहेकी सन्ध्यासँगको भेट मित्रतामा मात्रै सीमित नभई व्यावसायिक रूपमै अघि बढ्ने तरखरमा छ । उनीहरूको टिम ‘माउन्टेन गर्ल’ मिस टेक २०१७ को विजेता बन्यो ।

असोज पहिलो साता राजधानीमा सम्पन्न मिस टेक प्रतियोगिताको दौरान गरिएको दुईदिने ह्याकाथनमा उनीहरूले बनाएको गर्भवती महिला र पेटमा रहेको आमाको स्वास्थ्यको रेकर्ड राख्ने डिभाइस उत्कृष्ट घोषित भएको थियो । मिस टेकको विजेताका रूपमा उनीहरूको टोलीले ५० हजार पुरस्कार पायो र यसले बढाएको आत्मविश्वास उनीहरूका लागि सबभन्दा महत्त्वपूर्ण पुरस्कार हो, जसलाई मापन गर्ने कुनै आधार छैन ।
उनीहरूले बनाएको प्रोटोटाइप डिभाइसले पेटमा रहेको बच्चाको मुटुको चालको तथ्यांक राख्नुका साथै गर्भवती महिलाको शरीरको तापक्रप पनि जाँच्छ । यो डिभाइस कस्तो हो ? सुमित्रा भन्छिन्, ‘यो कम्मरमा लगाउने पेटीजस्तो छ, जसले पेटमा रहेको बच्चाको मुटुको चाल र आमाको शरीरको तापक्रप नाप्छ ।’



उनीहरूले बनाएको डिभाइसले अरू काम पनि गर्छ । यसबाट गर्भवती महिलाको स्वास्थ्य अवस्थाको जानकारी चिकित्सकसमक्ष पुर्‍याउन सकिन्छ र तत्काल सम्बन्धित महिलालाई नै पनि जानकारी दिन सकिन्छ । बच्चाको मुटुको चाल अस्वाभाविक भए वा महिलाको शरीरमा अस्वाभाविक तापक्रम भए यसले तत्कालै जानकारी दिन सक्छ । यसका लागि उनीहरूले वेब एप्लिकेसन बनाएका छन् । तत्कालका लागि वेब बेस एप्लिकेसन बनाए पनि भविष्यमा भने मोबाइल म्यासेजमार्फत जानकारी बाँड्ने काम गर्ने उनीहरूको योजना छ ।तथ्यांक विभागका अनुसार हिमाली क्षेत्रमा मातृ मृत्युदर बढी रहेकाले यस्तो डिभाइस बनाउने योजना फुरेको सुमित्रा बताउँछिन् । यस टोलीले प्रतियोगिताका क्रममा बनाएको यो डिभाइसलाई व्यावसायिक रूप दिने योजना बनाएका छन् । ‘यसलाई प्रोडक्टका रूपमा निकाल्दा १५ सय रुपैयाँ जति खर्च लाग्ने अनुमान छ तर एक जनाले प्रयोग गरेपछि अरूले पनि यसलाई प्रयोग गर्न सक्ने भएकाले डिभाइस बनाएर आवश्यक पर्नेहरूलाई भाडामा दिने योजना बनाएका छौं,’ उनले भनिन् । उनीहरू आफ्नो डिभाइसलाई विश्वसनीय बनाउनका लागि चिकित्सकहरूसँग सल्लाह गर्ने योजनामा छन् ।

उनीहरूले आफ्नो डिभाइस निर्माणमा टेम्प्रेचर सेन्सर, हार्टविट सेन्सरसहित वाईफाई मोड्युम प्रयोग गरेका छन् । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) द्वारा आयोजित दोस्रो मिस टेक प्रतियोगितामा महिलाहरूसम्बन्धी विषय छानेर कुनै समस्या सुल्झाउने उपाय निकाल्ने, त्यसको प्रोटोटाइप बनाउने र त्यसलाई व्यवसायमा ढाल्ने योजना बनाउने चुनौती दिइएको थियो ।यसपालि अघिल्लो संस्करणभन्दा के फरक रह्यो त ? र्‍यानका अध्यक्ष विकास गुरुङ भन्छन्, ‘यो वर्ष पहिलो पटक युवतीहरूले महिलासम्बन्धी समस्या समाधानको उपाय सुझाएर त्यसको प्रोटोटाइप पनि बनाएर प्रस्तुत गरे । यसलाई व्यवसायमा कसरी बदल्ने योजना पनि बनाए । यो नै नयाँ कुरा हो ।’



मिस टेक २०१७ मा उपविजेता भएको टिम हो– प्रोजेक्ट आवाज । उनीहरूको प्रोब्लम सल्भिङ डिभाइस महिला हिंसासँग सम्बन्धित छ । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका चार विद्यार्थी सम्मिलित प्रोजेक्ट आवाजले महिलाहरूले आफ्नो आवाजमार्फत गुनासो गर्न सक्ने डिभाइस बनाएको छ ।आफ्नो डिभाइसबारे बुझाउन प्रोजेक्ट आवाजकी सदस्य सदिच्छा भण्डारी एटीएम मेसिनको उदाहरण दिन्छिन् । ‘हामीले यस्तो डिभाइसको प्रोटोटाइप बनाएका छौं, जहाँ गएर महिलाहरूले आफूमाथि भएको हिंसाको उजुरी बोलेरै दिन सक्छन्,’ उनले भनिन् । यस्तो गुनासो सीधै प्रहरी वा सम्बन्धित निकायमा पुगोस् भन्ने उनीहरूको योजना हो । कसरी पुग्छ त ? सदिच्छा भन्छिन्, ‘डिभाइसमा क्यामेरा र फिंगरप्रिन्ट स्क्यानर राखेका छौं जसले पीडितको पहिचान गर्न सजिलो हुन्छ ।’प्रोजेक्ट आवाज टिम आफ्नो डिभाइस व्यापारिक प्रयोजनका लागि नभई सम्बन्धित क्षेत्रमा काम गरिरहेका संघ–संस्थाको सहयोगमा विभिन्न ठाउँमा राख्ने योजनामा छन् । पीडितहरूका गुनासा सम्बन्धित निकायबाहेक अन्यत्र नपुगोस् भन्ने उनीहरूको चाहना छ । सदिच्छाका अनुसार भ्वाइस रेकर्डर, स्पाई क्यामेराको प्रयोगसहितको आफ्नो डिभाइसको निर्माण मूल्य १२ हजार रुपैयाँ हुन्छ । यस समूहमा उनीसहित प्रविना रिमाल, ममिता राई र ममता यादव संलग्न छन् ।

हिमालय कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरू अस्मिता कोइराला, बेलमता भण्डारी र सारा पौडेलले बनाएको अटोमेटिक ग्रिनहाउस फार्मिङ सिस्टमको योजनाले मिस टेक २०१७ मा तेस्रो पुरस्कार जित्यो । यस टोलीको नाम हो– नोभा टेक । उनीहरूको योजनाबारे सारा भन्छिन्, ‘ग्रिनहाउसको तापक्रम र माटोको अवस्था मापन गरी स्वत: काम गर्न सक्ने प्रविधि ।’ ग्रिनहाउसको अवस्था हेरी यसले स्वत: पानी हाल्ने वा अझ तातो बनाउने निर्णय गर्न सक्छ । उनीहरू यस्तो प्रविधिले किसानलाई सजिलो हुने विश्वास गर्छन् ।अटोमेटिक ग्रिनहाउस फार्मिङ सिस्टमका लागि उनीहरूले हल्का मार्केट रिसर्च पनि गरेका छन् । उनीहरूले बनाएको प्रविधि एक सय वर्ग फिटका लागि करिब ५० हजार रुपैयाँ खर्च हुन्छ । ‘बजारमा यसैका लागि किसानले एक लाख रुपैयाँसम्म तिर्छन्,’ सारा भन्छिन्, ‘त्यसैले हाम्रो योजना किसानले मन पराउनुहुन्छ जस्तो लाग्छ ।’

आफ्नो यही प्रोजेक्टलाई व्यावसायिक रूपमा अगाडि बढाउने उनीहरूको योजना छ । यसैका लागि उनीहरूले अन्य दुई साथीसँग मिलेर कम्पनी पनि खोलिसकेका छन् ।मिस टेकमा यसपालि १६ टिममा ५२ युवती सहभागी थिए । आयोजक र्‍यान अध्यक्ष विकास गुरुङ आकर्षण बढ्दै गएकाले हरेक वर्ष मिस टेक प्रतियोगिता आयोजना गर्ने बताउँछन् । उनी भन्छन्, ‘युवती र किशोरीका लागि विभिन्न सौन्दर्य प्रतियोगिता मात्रै हुन्छ । प्रविधि क्षेत्रमा उनीहरूको नेतृत्वदायी भूमिका बढाउन मिस टेक आयोजना भएको हो ।’ यसमा सरकारी र अन्य निकायले पनि चासो देखाएकाले हरेक वर्ष यसलाई बृहत् बनाउँदै लैजाने योजना उनले सुनाए ।

Page 18
हेल्लो शुक्रवार

टिनएजमै तहल्का

सामान्यतया फुटबलमा एकेडेमीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी उमेर समूहको टोलीमा आउँछन् । त्यसपछि विभिन्न उमेर समूह हुँदै सिनियर
टोलीसम्मको यात्रा तय गर्दा सामान्यतया खेलाडीको उमेर २० वर्ष कटिसकेको हुन्छ । केही खेलाडी यस्ता पनि छन् जसले टिनएजमै सिनियर टोलीका लागि खेल्दै आफ्नो प्रभाव देखाइसकेका छन्, त्यो पनि युरोपकै प्रतिष्ठित क्लबका लागि । २० वर्ष नपुग्दै विश्व फुटबलको महाशक्ति युरोपका पाँच ठूला लिगमा आफ्नो छाप बसाइसकेका फुटबलर :


थियो हर्नान्डेज
देश: फ्रान्स
उमेर: १९ वर्ष
क्लब: रियल म्याड्रिड (स्पेन)
पोजिसन: डिफेन्डर


पछिल्लो सिजन लोनमा आलभेसबाट खेलेका हर्नान्डेज यसै सिजन एटलेटिको म्याड्रिडबाट रियलमा आएका हुन् । छिमेकी प्रतिद्वन्द्वी क्लबबाट आएका उनले रियल म्याड्रिडबाट डेब्यु गरिसकेका छन् । रियलले उनीसँग ६ वर्षको सम्झौता गरेको छ । फ्रान्सको युवा टोलीबाट खेलिसकेका उनलाई रियल म्याड्रिडको भविष्यका स्टारका रूपमा हेरिएको छ । फ्रान्सेली टोलीले पनि उनीबाट धेरै आशा राखेको छ ।

 

क्रिस्टियन पुलिसिच
देश: अमेरिका
उमेर: १९ वर्ष
क्लब: बोरुसिया डर्टमुन्ड (जर्मनी)
पोजिसन: मिडफिल्डर


पुलिसिच अमेरिकाको राष्ट्रिय टिमबाट विश्वकप छनोट खेल्ने र गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । उनी तीन वर्षयता डर्टमुन्डसँग आबद्ध छन् । एकेडेमीको टिमबाट १५ खेल खेलेपछि उनले फस्ट टिममै मौका पाएका थिए । उनी बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा विदेशी खेलाडी पनि हुन् । यस सिजन लगातार पहिलो रोजाइमा खेलिरहेका पुलिसिचले आउने दिनमा राम्रै प्रभाव देखाउने विश्वास गरिएको छ । उनी सन् २०२० सम्म डर्टमुन्डमा रहने सम्झौता छ ।

 

मार्कुस रास्फर्ड
देश: इंग्ल्यान्ड
उमेर: १९ वर्ष
क्लब: म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
पोजिसन: फरवार्ड


म्यानचेस्टर युनाइटेडका लागि युरोपेली प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्, रास्फर्ड । दुई वर्षअघि युरोपा लिगको खेलमा एन्थोनी मार्सियल वार्मअपमा घाइते भएपछि मौका पाएका रास्फर्डले त्यसै खेलमा दुई गोल गरेका थिए । त्यसपछि लिग कप, च्याम्पियन्स लिग र इंग्ल्यान्डका लागि पनि सबै प्रतियोगिताको डेब्युमै उनले गोल गरे । युनाइटेडको सिनियर टोलीको महत्त्वपूर्ण सदस्य बनेका उनी अब मुख्य खेलाडी बन्ने अभियानमा छन् । उनले सन् २०१६ मा ४ वर्षका लागि क्लबसँग सम्झौता गरेका थिए ।

 

जियानलुइजी डोनारुम्मा
देश: इटाली
उमेर: १८ वर्ष
क्लब: एसी मिलान (इटाली)
पोजिसन: गोलकिपर


१६ वर्ष २ सय ४२ दिनको छँदा इटालियन सिरी ‘ए’ मा डेब्यु गरेका गोलकिपर डोनारुम्माले १७ वर्ष १ सय ८९ दिनको हँुदा इटालीको टिमबाटै खेले । राष्ट्रिय टिमका सबभन्दा कम उमेरका उनले क्लब फुटबलमा तीन सिजनयता लगातार पहिलो रोजाइमा गोलपोस्ट सम्हाल्दै आएका छन् । उनलाई इटालियन लिजेन्ड जियानलुइजी बुफोनका उत्तराधिकारीका रूपमा हेरिएको छ । उनले सन् २०२१ सम्म मिलानमै रहने प्रतिबद्धता जनाएका छन् ।

 

किलियन एमबाप्पे
देश: फ्रान्स
उमेर: १८ वर्ष
क्लब: पेरिस सेन्ट जर्मेन (फ्रान्स)
पोजिसन: फरवार्ड


पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका फ्रान्सेली फरवार्ड एमबाप्पे विश्वकै दोस्रा महँगा फुटबल खेलाडी बन्दैछन् । यसै सिजन मोनाकोबाट लोनमा आएका उनलाई अर्को सिजन १६ करोड युरोमा पीएसजीले खरिद गर्ने सम्झौता भइसकेको छ । गत सिजन मोनाकोलाई फ्रेन्च लिगको उपाधि दिलाउन र च्याम्पियन्स लिगको सेमिफाइनल पुर्‍याउन उनको महत्त्वपूर्ण भूमिका थियो । उनले फ्रान्सेली राष्ट्रिय टिमबाट गोल पनि गरिसकेका छन् ।
स्रोत : एजेन्सी

हेल्लो शुक्रवार

चुनौती नै अवसर

हरेक क्षेत्रमा युवा सहभागिता बढ्दो छ । फरक/फरक क्षेत्रमा लागेर रमाउने युवा जमात्को कमी छैन । अवसरलाई उपयोग गर्न युवा पुस्ता अग्रसर छन् । कठिन नै भए पनि चुनौती सामना गर्न तयार हुन्छन् । त्यसैले युवा पुस्ता लिडरका रुपमा चर्चित हुन थालेका छन् । जहाँ युवाले नेतृत्व गर्छ, त्यहाँ परिवर्तन हुन्छ भन्ने नारा नै चलेको छ । चितवनमा नेतृत्व तहमा काम गरिरहेका ६ युवाबारे विमल खतिवडा लेख्छन् :

भरतपुर ४ वैदिकनगरकी बबिता घिमिरे चितवन मेडिकल कलेजमा आईसीयू इन्चार्ज हुन् । उनीसहित दुई इन्चार्ज रहेको यसमा ३० जना स्टाफ कार्यरत छन् । उनी प्राय: ११ बजेदेखि ७ बजेसम्म काम गर्छिन् । ‘कहिलेकाहीँ स्टाफ म्यानेज गर्न गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘तर पेसाप्रति सन्तुष्ट छु, रिस्क नलिए केही पनि गर्न सकिँदैन ।’ परिवारको चाहना उनले एमबीबीएस गरे हुन्थ्यो भन्ने थियो । नर्स भए पनि उनलाई परिवारले राम्रै साथ दिएको छ ।
‘विदेश जाने सोच छैन,’ २७ वर्षीया बबिता भन्छिन्, ‘आफ्नै देशमा बसेर बिरामीको सेवा गर्न चाहन्छु । आफंैले नेतृत्व गरेर काम गर्नुको मज्जा नै बेग्लै हुन्छ ।’ उनी बेस्ट नर्सिङ स्टाफको अवार्ड पनि जितेकी छन् । ‘नेतृत्व लिएपछि त्यसलाई सम्हाल्न सक्नुपर्छ । कहिलेकाहीँ समस्या हुन्छ तर अहिलेसम्म मैले जिम्मेवारी पूरा गर्दै आएकी छु,’ उनले भनिन् ।चितवन निकुञ्जअन्तर्गत सौराहा सेक्टरका प्रमुख अभिनय पाठक निकै व्यस्त हुन्छन् । जुनसुकै बेला र परिस्थितिमा पनि काममा खट्छन् । उनले यस कार्यालय सम्हालेको दुई वर्ष भइसक्यो । ‘सुरुमा कार्यालय प्रमुख भएर आउँदा मलाई कर्मचारीहरूले समेत पत्याएनन्,’ २७ वर्षीय उनले भने, ‘पछि सबैले चिन्दै गए, उमेर सानो भए पनि जिम्मेवारी ठूलै छ ।’ राप्ती नगरपालिका ६ स्थित आदर्श टोलका उनी ६७ कर्मचारीका हाकिम हुन् ।

शिक्षक दम्पतीका अभिनयले दोस्रोपल्टको लोकसेवा परीक्षामा २ नम्बरमा नाम निकालेका थिए । पोखराको वन विज्ञान अध्ययन संस्थानबाट फरेस्ट्रीमा बीएस्सी गरेका उनी कार्य अनुभव सुनाउँछन्, ‘पहिला कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोलाउँदा के बोल्ने, कसरी बोल्ने भन्ने डर हुन्थ्यो । बल्ल अचेल कन्फिडेन्स बढेको छ, बोल्न सक्ने भएको छु ।’ उनी आफ्नो गाउँबाट अधिकृतमा नाम निकाल्ने पहिलो व्यक्ति हुन् ।
‘चितवन निकुञ्जको अन्य क्षेत्रभन्दा यो सेक्टरमा चहलपहल बढी छ,’ उनी भन्छन्, ‘ठूला कार्यक्रम यहीं हुन्छन् । राति गस्ती हुन्छ । त्यसैले यो क्षेत्रलाई बढी सचेत भएर हेर्नुपर्छ ।’ कामको चापले नै उनी नजिकैको घर पनि दुर्लभै जाने गर्छन् । वाइल्ड लाइफ कन्जर्भेसन एन्ड म्यानेजमेन्टमा मास्टर्स गर्ने लक्ष्य राखेका उनको मोबाइल पनि निकै व्यस्त हुन्छ ।बीपीएच (ब्याचलर अफ पब्लिक हेल्थ) गरेकी भरतपुर १६ स्थित विजयनगरकी प्रमिता ढकाल अहिले मास कम्युनिकेसनमा मास्टर्स गर्दैछिन् । जति पढाइ, त्यति नै उनको व्यस्तता बढ्दो छ । २७ वर्षीया उनी स्थानीय क्रिस्टल टेलिभिजनमा समाचार संयोजक हुन् । उनको नेतृत्वमा पहिले २४ जनाले काम गर्थे, अहिले आठ जना छन् । उनी समाचार संकलनदेखि प्रस्तुत पनि गर्नेसम्म काम गर्छिन् ।

‘मिडियामा लागेपछि सबैले चिन्ने भएकी छु,’ उनी भन्छिन्, ‘ढुक्क भएर काम गर्ने भएकी छु ।’ उनी तलब पाउनसाथ बा–आमालाई उपहार लिएर जान्छिन् । ‘अहिलेसम्म जिम्मेवारी सम्हाल्न गाह्रो भएको छैन । सबैले सम्मान गर्ने पेसा भएकाले होला धेरै कुरामा ख्याल गर्नुपर्छ,’ उनले दशकयताको अनुभव सुनाइन्, ‘तर महिला पत्रकारलाई हेप्ने प्रवृत्ति देख्दा भने दु:ख लाग्छ । पुरुषसरह काम गर्दा पनि महिला पत्रकार भनेपछि हाम्रै समाजमा नाक खुम्च्याउने चलन छ । तर मैले हिम्मत हारेकी छैन ।’अहिलेका युवा पुस्ता जति गाह्रो काम त्यति नै इन्जोए गर्दै जिम्मेवारी पूरा गर्ने गर्छन् । यो कुरा गोरखा अजिरकोट गाउँपालिका २ खरिबोटका कुश सापकोटामा पनि लागू हुन्छ । २७ वर्षीय उनी सौराहाको होटल पार्कसाइडका म्यानेजर हुन् । होटलको लेखा पनि उनी आफैं हेर्छन् । बीबीएस पास गरेका उनको चाहना बिजनेस गर्ने हो, अहिले भने म्यानेजरको जिम्मेवारी सम्हाल्न व्यस्त छन् । ‘कामप्रति सन्तुष्ट छु र यसैको कमाइले चितवनमै जग्गा पनि जोडेको छु,’ २२ कर्मचारीलाई व्यवस्थापन गरिरहेका उनले भने । पाहुनालाई सत्कार गर्नेदेखि लिएर अरू काममा उनी बिहान ६ बजेदेखि राति १० बजेसम्मै खटिरहेका भेटिन्छन् ।

भरतपुर १९ शारदानगरकी विन्दु भण्डारी भेटनरी डाक्टर हुन् । तर उनी जलवायु परिवर्तनको अभियन्ता बनेकी चार वर्ष भइसक्यो । २४ वर्षीया उनी ‘क्लाइडमेट्स’ की उपाध्यक्ष हुन् । यो संस्थामा ३० देशका ४ सय युवा सक्रिय सदस्य छन् । त्यसको नेपाल शाखाका रूपमा यही वर्ष (सन् ०१७) मा क्लाइडमेड्स नेपाल बनेको हो । यसको बोर्डमा १३ जना र पूरा संस्थामा १ सय ५ सदस्य छन् । विन्दुले संस्थामा मेन्टरको काम गर्छिन् ।
उनले सुरुमा अभियानमा आवश्यक खर्च जुटाउन पार्ट–टाइम टिचिङ पनि गरेकी थिइन् । ‘सामाजिक काममा सक्रिय छु,’ उनी भन्छिन्, ‘छोरीले उदाहरणीय काम गरेको भनी बा–आमा पनि दंग छन् ।’ अभियानकै सिलसिलामा उनी अमेरिका, दक्षिण कोरिया, फ्रान्स, मोरक्को र भारत पनि पुगेकी छन् । काम र अभियानलाई सँगै अगाडि बढाउने उनको योजना छ ।

भोजपुरको षडानन्द नगरपालिका १ नेपालेडाँडाका निरञ्जन भट्टराईले प्रहरी निरीक्षक (इन्स्पेक्टर) का रूपमा सात महिनायता भरतपुरको १० नम्बर वडा प्रहरी कार्यालय सम्हालिरहेका छन् । २७ वर्षीय उनको कमान्डमा ७१ जना प्रहरी छन् । फिजिक्समा मास्टर्स सकाएका उनले भने, ‘सानैदेखिको रहर फौजीमा छिर्ने थियो । त्यो सपना साकार भएको छ ।’ उनको काम समाजमा शान्ति स्थापना गर्नु हो । जहाँ समस्या छ, त्यहाँ उनको टोली तुरुन्तै पुग्ने गर्छ । चाडबाडमा पनि बिदा मिलेमात्र उनी घर पुग्छन् । ‘प्रहरीमा लागेपछि निडर भएको छु,’ शिक्षकका यी सन्तानले भने, ‘चौबिसै घण्टा आफ्नो क्षेत्रको मोनिटरिङ गर्नुपर्छ ।’

हेल्लो शुक्रवार

बाईबाई पेट्टी

- हिमेश

अमेरिकी संगीतकार, गायक र गीतकार टम पेट्टीको निधन निकै अप्रत्याशित रह्यो । विश्वास नै गर्न नसकिने । सुरुमा उनलाई हृदयाघात भएको थियो भनियो । पछि मृत्युको अपुष्ट समाचार पनि आयो । फेरि अर्को समाचार आयो, होइन, उनी जीवित नै छन् । तर अन्त्यमा जुन समाचारलाई लिएर डर थियो, त्यही भयो । पेट्टी साँच्चै रहेनन् । केही समयका लागि पेट्टीका प्रशंसक अन्योलमा रहे, तर उनको परिवारले अन्त्यमा पुष्टि गरेको थियो, उनको निधनलाई ।

उनी नेपालमा कति लोकप्रिय छन्, त्यसलाई नाप्ने औजार छैन । तर कुनै समय उनका गीत काठमाडौंतिर खुबै राम्रोसँग सुनिन्थे, सन् ९० अगाडिसम्म । सन् १९५० को अक्टोबरमा उनको जन्म भएको थियो, फ्लोरिडामा । उनी ६६ वर्ष बाँचे । उनकै नाम अगाडि आउने गरेर ब्यान्ड बनाइएको थियो, टम पेट्टी एन्ड द हर्टब्रेकर्स । उनी यस ब्यान्डका फ्रन्टम्यान थिए । उनका केही गीत सोलो आर्टिस्टका रूपमा पनि रहेको छ ।
उनको खास ख्याति भने सन् ८० को सुपर ब्यान्ड ट्राभलिङ विलबरिजबाट रहेको हो भन्दा पनि फरक भने पर्दैन । यसको अर्थ टम पेट्टी एन्ड द हर्टब्रेकर्सलाई कम आँक्ने पनि होइन । ट्राभलिङ विलबरिज वास्तवमै सुपर ब्यान्ड थियो । नहोस् पनि किन ? यस ब्यान्डका सदस्य थिए, बब ड्यालन, जर्ज ह्यारिसन, जेफ लेन, रोय ओरबिसन र तिनै टम पेट्टी । यति नाम चलेका व्यक्तित्व कुनै एक ब्यान्डमा समेटिन सक्छ र ? धेरैको प्रश्न यस्तै रहने गथ्र्यो ।

साँच्चै यो ब्यान्ड धेरै वर्ष टिक्न सकेन । खालि सक्रिय रह्यो, सन् १९८८ देखि १९९० सम्म मात्र । तर जति उनीहरू सँगै रहे, विश्व संगीतले सुन्न पायो, केही महान् गीत । ब्यान्डले खालि दुई एल्बम मात्र निकाल्यो । तर दुवै उत्तिकै चर्चित रहे, उत्तिकै मनपराइए पनि । सन् १९८८ मा उनीहरूले जारी गरेको गीत हो, ‘ट्वीटर एन्ड द मन्की म्यान’ । हाम्रोतिर पनि खुबै लोकप्रिय रहेको गीत हो । एकक्षण फुर्सद निकालेर यो गीत सुन्ने हो भने खुबै मज्जा आउने गर्छ ।पेट्टीका अधिकांश गीत या त रक एन्ड रोल रहे, होइन भने रक । उनको व्यक्तित्वमा अरू नाम चलेका गायकको जस्तो जादुयी छनक पाइन्न । उनी प्राय: सामान्य देखिन्छन् । अझ धेरै अवसरमा त कन्ट्री सिंगर जस्तो । तर उनको आवाजमा जादु प्रस्ट सुन्न सकिन्छ । त्यसैले उनी पनि सबैभन्दा एल्बम बिक्री हुने कलाकारमध्येमा एक पर्छन् । सन् २००२ मा त हो, उनलाई ‘रक एन्ड रोल हल अफ फेम’ राखिएको । यो उनका लागि पनि ठूलै उपलब्धि थियो ।



दस वर्षको उमेरमा उनले एल्भिस प्रिस्लेलाई भेटेका रहेछन् । त्यही अवसरमा पेट्टीले निर्णय गरे– आफू पनि यही क्षेत्रमा लाग्छु । सन् १९७६ मा उनले टम पेट्टी एन्ड द हर्टब्रेकर्स ब् यान्ड बनाए । रक ब्यान्डका रूपमा यसले उत्तिकै ख्याति पनि कमायो । केही सिनेमा पेट्टीले अभिनय पनि गरे । खासमा उनको मृत्यु यति धेरै किन अप्रत्याशित रह्यो त ? हिजो जस्तै हो, उनले आफ्नो पछिल्लो कन्सर्ट गरेको । मृत्युको सात दिन अगाडिसम्म पनि स्टेजमै व्यस्त थिए ।उनले पछिल्लोपटक गाएको लस एन्जलसमा थियो र यससँगै समाप्त भएको थियो, उनीहरू अर्थात् टम पेट्टी एन्ड द हर्टब्रेकर्स ब्यान्डको ५३ दिन लामो टुर । अन्तिम कन्सर्टको अन्तिम गीत थियो, उही ‘अमेरिकन गर्ल’ । उनी लगभग अधिकांश कन्सर्टको अन्त्य यही गीतबाट गर्थे र लस एन्जलसको कन्सर्ट पनि अपवाद रहेन । उनको सबैभन्दा मन पराइएको गीत हो, यो । यससँगै उनको अर्को निकै लोकप्रिय गीत रहेको छ, ‘फ्रि फलिङ’ ।

कन्सर्टमा मात्र उनले अमेरिकन गल्र्स सात सयपल्ट गाइसकेको छ भनिन्छ । ‘ट्वीटर एन्ड द मन्की म्यान’ सँगै यी दुई गीत दोहोर्‍याएर सुन्दा अझ मीठो लाग्नेछ । यहाँनिर उत्तिकै उल्लेख गर्न लायक तथ्य के पनि हो भने टम पेट्टी एन्ड द हर्टब्रेकर्स ब्यान्ड टुरकै क्रममा आफ्नो ब्यान्ड स्थापनाको ४० वर्ष पनि मनाइरहेका थिए । त्यसैले टुर सुरु हुन अगाडि पेट्टीले भनेका थिए, हाम्रा लागि यो निकै सम्झनालायक हुनेछ । नभन्दै यस्तै भयो,
तर दु:खान्त रूपमा ।

Page 19
हेल्लो शुक्रवार

थिएटरका अलराउन्डर

- गोकर्ण गौतम

जोसले भरिएका बेला नाटक गर्न नपाउँदाको पीडा थियो नै । उनले काठमाडौंमा टिक्नकै लागि सपिङ सेन्टर, रेस्टुरेन्ट, ट्राभल एजेन्सीदेखि प्लम्बिङ, मार्केटिङ पनि गरे । कन्स्ट्रक्सन कम्पनीमा जागिर खान नेपालगन्ज पनि पुगे ।

१०–५ को जागिरमा पटक्कै रुचि थिएन । केही नवीन काम गरौं भन्ने हुटहुटी मात्र थियो । यसैसाथ दिलीप रानाभाट लमजुङको तार्कुघाटमा प्लस टु सकेर काठमाडौं आए २०६५ सालमा ।आरआर क्याम्पस भर्ना भइसकेपछि एक दिन दाइ पर्नेले बिनाप्रसंग थिएटरको कुरा निकाले । थिएटरका अम्मली दाइको संगतबाट दिलीपमा ‘रंगमञ्च बौद्धिक र सिर्जनात्मक काम हुने थलो हो’ भन्ने छाप बस्यो । र, जीवनको लय बदलियो । जबकि त्यतिबेलासम्म दिलीप नाटक र अभिनयका बारेमा अनभिज्ञ थिए, सुनील पोखरेल र अनुप बरालको नाम सुन्नुको अलावा ।

इच्छाशक्ति र लगावको सामु कसको के लाग्थ्यो र π दिलीप यतिबेला नयाँ पुस्ताको आशालाग्दो रंगकर्मी बनेका छन् । उनी अभिनयमा मात्र होइनन्, निर्देशन र लेखन पनि गर्छन् । लाइट, ध्वनि, स्टेज डिजाइनमा पनि पोख्त छन् । स्कुल/कलेजमा नाटक पढाउने उनी अभिनीत नाटक भारत, पाकिस्तान र युरोपमा पनि मञ्चन भइसकेको छ । डेनमार्क र स्वीडेनमा थिएटर प्रोडक्सनको वर्कसपमा सहभागी भइसकेका उनी भन्छन्, ‘भौतिक रूपमा जति कष्ट भोग्नुपरे पनि नाटकमै मस्त छु ।’

करिब एकै समयमा हो, दिलीपलाई नाटकमा रस पसेको र गुरुकुल बन्द भएको । बन्द हुनु अगाडि एकाध पटक गुरुकुल पुग्थे तर गेट पालेसँग कुरा गरेर फर्कन्थे, सुनील पोखरेलसँग भेट्ने आँटै हुँदैन्थ्यो । त्यतिबेला अहिलेको जस्तो मनग्ये नाटकघर र नाट्य समूह थिएनन् । चिनेजानेको कोही थिएन । दिलीपलाई तीन वर्ष लाग्यो, शैली थिएटरसँग जोडिन । रसियन कल्चर सेन्टरमा तीन महिना राजकुमार पुडासैनीसँग अभिनय प्रशिक्षण लिन पाउँदा उनलाई लागेको थियो, सपना पूरा भयो । लजालु स्वभावका दिलीपले हाँस्दै सुनाए, ‘खासमा सपना पूरा गर्ने यात्रा चाहिँ सुरु भएको रहेछ ।’

स्टुडेन्ट प्रोडक्सनस्वरूप प्रशिक्षणपश्चात् नाटक तयार भयो, लम्बरी लाले । र, उनले जीवनमै पाएको पहिलो भूमिका थियो, नोकरको । शैलीसँगै जोडिएर केही सडक नाटक र कचहरी पनि गरे तर नियमित होइन । जोशले भरिएको बेला नाटक गर्न नपाउँदाको पीडा थियो नै । उनले काठमाडौंमा टिक्नकै लागि सपिङ सेन्टर, रेस्टुरेन्ट, ट्राभल एजेन्सीदेखि प्लम्बिङ, मार्केटिङ पनि गरे । कन्स्ट्रक्सन कम्पनीमा जागिर खान नेपालगन्ज पनि पुगे । एक दिन काम गर्दागर्दै करेन्ट लागेपछि उनी काठमाडौं हानिए । समयले पनि साथ दियो । उनी फर्कनासाथ थिएटर भिलेजमा आबद्ध भए ।



विमल सुवेदीसँग ३ महिना प्रशिक्षण लिएपछि नाटकलाई हेर्ने उनको दृष्टिकोण बदलियो । ‘सानिध्यताले नाटक भनेको अभिनय मात्र होइन भन्ने थाहा पाएँ र त्यहीअनुरूप आफूलाई निखार्दै लगें,’ उनले भने । उनी थिएटर भिलेजकै होस्टेलमा बस्न थाले । हरपल नाटककै वरपर । तर अभिनयभन्दा ब्याकस्टेजमा बढी ध्यान जान थाल्यो । चारुमती, यार्मा, सावितीलगायतका नाटकमा स्टेज म्यानेजर भए ।
थिएटर भिलेजबाट उनले खेलेको पहिलो नाटक थियो, मालिनी । संयोगले त्यो नेपालमा होइन, पाकिस्तानको चर्चित नाट्य महोत्सव नापा थिएटर फेस्टिभलमा मञ्चन भयो । यसमा उनले राजाको भूमिका निर्वाह गरेर चर्चा बटुलेका थिए, त्यही फेस्टिभलमा गत चैत्रमा दिलीपले कमाएको प्रशंसा साँच्चै लोभलाग्दो थियो । हेम्लेट नाटकको शीर्ष भूमिकामा दिलीपको कला हेरेपछि सबै दर्शकले उठेर ताली पिटेका थिए । बाहिर निस्केपछि दिलीपसँग भलाकुुसारी गर्ने र फोटो खिच्नेको भीड थियो ।

मालिनीको एक शो मञ्चन भएको उक्त नाटकका लागि दिलीपले गरेको मिहिनेत चानचुने थिएन पनि । जिम गए, कपाल खौरिए, हप्तौं पशुपति पुगेर शव जलाएको हेरे । चरित्र निर्वाह हैन, चरित्रमै जिउने प्रयास गरे । दिलीप सम्झन्छन्, ‘हेम्लेट बन्न दुई महिनासम्म अरु केही काम गरिनँ । किनभने मलाई चुनौतीपूर्ण भूमिका गर्न सक्छु भनेर आफैंलाई प्रमाणित गर्नु थियो ।’

सिंहदरबारको टेन्डर थिएटर भिलेजमा सर्वाधिक बक्स अफिस कलेक्सन गर्न सफल नाटक हो । यसको निर्देशन तथा नाट्य आलेख दिलीपले गरेका थिए । आधा दर्जन नाटकमा ब्याक स्टेजको अनुभवपछि उनलाई सोलो निर्देशन गर्ने आँट आएको थियो । उनले सान्दाजुको महाभारत, दाँतको डोब, मकैको अर्कै खेतीजस्ता नाटकमा एसोसिएट निर्देशकका रूपमा पनि काम गरे । सिंहदरबारको टेन्डर सफल हुँदाभन्दा त्यो नाटकले सिक्नुपर्ने अरू ज्ञानको ढोका खोलिदिँदा ज्यादा खुसी थिए उनी । त्यसैले जतिसक्दो राम्रो नाटक र निर्देशकसँग काम गरे ।

उनको निर्देशक, अभिनय, लेखन, ब्याकस्टेज सबैतिर ग्राफ उक्लिँदो थियो तर त्यही बेला लाजिम्पाटस्थित थिएटर भिलेजको नाटकघर बन्द भयो । त्यसयता उनी टुहुराजस्तै भएका छन् । नयाँ ठाउँमा खोल्ने प्रयास भने जारी छ । डेढ वर्षयता उनको अभिनय स्वदेशमा देखिएको छैन तर जर्मनीको ३ र बेल्जियमको एक फेस्टिभलमा मालिनी मञ्चन गरियो । त्यसअअघि कराँचीमा । भारतको चार राज्य पनि घुमे । त्यसैले उनको व्यस्तता भने घटेको छैन ।

Page 20
हेल्लो शुक्रवार

बुद्धका ती दिनहरू

नेपाल आइडलको उपाधि जितेका बुद्ध लामा आर्थिक रुपमा संघर्षरत परिवारबाट आएका हुन् । उनको संघर्षका कथा :
- सजना बराल

जन्मायौ तिमीले आमा, हुर्कायौ तिमीले आमा
तर आज आफूबाट धेरै टाढा, बनायौ किन आमा...

यी आफ्नै शब्दलाई बुद्ध लामाले कम्पोज गराइसकेका छन् । अन्तरा थपेर अलि परिस्कृत गर्न बाँकी छ । त्यो चाँडै गर्नेछन् किनभने उनलाई जसरी पनि यो गीत एल्बममा समावेश गर्नु छ । यसमा उनका भावनाहरू जोडिएका छन् । प्रेम समेटिएको छ । वास्तविकता उनिएको छ ।

‘मैले लेखेको पहिलो गीत हो,’ नेपाल आइडल बनेपछि व्यस्त रहेका बुद्धले भने, ‘आमाका लागि लेखेको हो । रेकर्ड गर्ने इच्छा थियो । पहिले सकिनँ । अब त जसरी पनि गर्छु ।’ नेपाल आइडल भएर उनले १५ लाख रुपैयाँको एल्बम सम्झौता पाए तर काम भने सुरु भएको छैन । कार पनि हात परेको छैन । बुद्धलाई पीर छ ।‘घरमा कसैलाई गाडी चलाउन आउँदैन,’ उनले हाँस्दै भने, ‘त्यसबारे पछि सोचौंला । चिन्ता गीतको छ । सधैं अरूको गीत गाएर भएन । आफ्नै गीत गाउनुपर्छ ।’ उनी पहिलो गीत नै फ्लप भएको सोच्न चाहँदैनन् । बरु दह्रै मिहिनेत गर्ने मुडमा देखिए । आमामा समर्पित गीत खत्रा बनाउनेमा उनी ढुक्क छन् ।उनकी आमा ५३ वर्षकी छन् । बेलाबेला ज्वरो आउने, मुटु दुख्ने समस्या छ । बिरामी भइरहने भएकाले आमा घरमै हुन्छिन् । पहिले उनी अरूका घरमा लुगा धुने, भाँडा माझ्ने गर्थिन् । बुबा पोखरा महानगरपालिकाको क्लिनर हुन् । चार सन्तानमध्ये बुद्ध कान्छो हुन् । भेना र भान्जालाई उनी ‘फ्यामिली प्याकेज’ मान्छन् ।

विसं २०५५ सालमा जन्मिएका बुद्ध दिदीको स्वर सुनेर हुर्किए । उनकी दिदी आँचलले पनि नेपाल आइडलमा भाग लिएकी थिइन् तर थिएटर राउन्डबाटै बाहिरिइन् । प्रतियोगिताबाट बाहिरिनुलाई बुद्ध दुर्भाग्य मान्छन् । ‘नराम्रो गाएर मात्र होइन मान्छे अनेक कारणले एलिमिनेट हुन्छ,’ उनले भने, ‘मेरी दिदी छोरा सम्झिएर गीतमा फोकस हुनुभएन । मभन्दा राम्रो गाउने अरू थुप्रै प्रतिस्पर्धी थिए । उनीहरू स्टेजमा नर्भस भए । ट्यालेन्ट भएर मात्रै नहुने रहेछ ।’

आइडलका करिब ४० एपिसोडमध्ये चार वटामा आफूले बिगारेको बुद्ध स्विकार्छन् । शब्द बिर्सिनाले आफू ‘लो’ देखिएकामा खिन्न छन् । उनलाई यसमा ठूलो विस्मात् छ । दबाबले त्यस्तो भएको बताए । ‘तर, मान्छेहरूले कुरा बुझिदिनुभएन,’ उनले अलिकति गुनासो पोखे, ‘मैले सधैं आफू भएर पर्फर्मेन्स दिएँ । धेरै नाटक गरिनँ । जस्तो आउँछ त्यस्तै गाएँ । वास्तविकता देखाएँ । शब्द कन्फ्युज भएको दिन धेरै पश्चताप हुन्थ्यो ।’
जेहोस् उनी सर्वाधिक मत पाएर गायन क्षेत्रको नमुना बनेका छन् । यसले उनको जीवन नै बदल्यो । सानै उमेरमा ठूलो सफलता हात परेकाले कहिलेकाहीँ छक्क पर्छन् । सपना हो कि जस्तो लाग्छ । तर, वरिपरिको माहोलले यथार्थ पुष्टि गर्छ । उनी खुसी हुन्छन् । ‘त्यत्रो सेकेन्ड, त्यत्रो घण्टा, त्यत्रो समय लगाएर ठूलो खुट्किलो उक्लिएँ,’ होचो कदका बुद्ध मुस्कुराउँदै बोले, ‘अब झन् धेरै च्यालेन्ज छ । विपक्षीहरूलाई मेरो टिममा ल्याउनु छ । संघर्ष गर्न छोड्दिनँ ।’



हुन त बुद्धले एक तहमा संघर्ष पहिले पनि गरेका थिए । घरको आर्थिक स्थिति कमजोर भएकाले प्लस टु पढ्दाताका नै जागिर खाए । आमाको उपचारका लागि त्यही बेला खटिए । उनी अमरसिंह चोकको नौमती दोहोरी साँझमा ४५ सय रुपैयाँ तलबको काम पाउँदा नाचेका थिए । ‘त्यतिले नै पुगिरहेको थियो, बाँचेकै थिएँ,’ उनले भने, ‘तर, तलब थोरै भयो भन्नेचाहिँ लाग्थ्यो । धेरै किचकिच गरेपछि ५५ सय बनाइदिनुभएको थियो ।’
पछि उनी दौंतरी दोहोरी साँझमा सालैजोलगायत भाका गाउन थाले । त्यहाँ पनि उति नै पारिश्रमिकले उनलाई दिक्क लगायो । टिप्स जोड्दा महिनाको ८ हजारजति कमाउँथे । त्यसैले घर र पढाइ खर्च पुर्‍याउनुपथ्र्यो । गुरुकुल संगीतालयमा म्युजिक पढ्थे । टुरिजम एन्ड होटल म्यानेजमेन्टमा स्नातक दोस्रो सेमेस्टर पढ्दै गर्दा उनी नेपाल आइडलमा पुगे ।

उनी इनोसेन्ट पाराका थिए । भाँती पुर्‍याएर बोल्न आउँदैन थियो । आइडलमा अरू बोलेको सुनेरै सिक्थे । ‘लाटोकोसेरो जस्तो थिएँ,’ उनले भने, ‘ट्वाल्ल परेर बस्थें । अरूको कुरा बुझ्दिन थिएँ । अहिले बाठो भइसकेको छु । धेरै कुरा बुझ्छु ।’ बोल्ने कुरा त भइगयो, गायनमा पनि असाध्यै सुधार भएको उनले बताए । त्यहाँको गु्रपिङले आत्मविश्वासी बनाएको बुद्धको भनाइ छ ।आइडलले आफूलाई एकैचोटि भविष्यमा पुर्‍याइदिएको उनी बताउँछन् । यो नभएको भए यत्तिको ख्याति कमाउन १५/२० वर्ष लाग्ने उनको आकलन छ । ‘म अहिले फ्युचरमा पुगेजस्तो लाग्छ,’ उनले भने, ‘मेरो फ्युचर अहिले प्रेजेन्ट भएको छ । म आकाशमा उडिरहेको छु । आराम गर्न भुइँमा झर्छु र फेरि उड्छु ।’

हेल्लो शुक्रवार

हेलो टेक

तस्बिरहरू : एजेन्सी

आईओएस ११
तीन नयाँ आइफोन सार्वजनिक गरेको एक सातापछि एप्पलले आफ्नो
अपरेटिङ सिस्टम आईओएसको ११ औं भर्सन सार्वजनिक गरेको छ । विश्वभरका प्रयोगकर्ताले यो सपोर्ट गर्ने डिभाइसमा अपडेट गर्न सक्छन् । एप्पलका अनुसारका आईओएस ११ मा नयाँ डिजाइन थपिएका छन् जुन भर्खरै सार्वजनिक भएको आइफोन टेनमा उपलब्ध छ ।
आईओएस ११ मा कन्ट्रोल सेन्ट्रल, लक स्क्रिनसहित सेटिङ फिचरमा केही परिवर्तन ल्याइएको छ । जसमा डु नट डिस्टर्ब मोडसहित अन्य फिचरहरू छन् । साथै, क्यामेरामा पोट्रेट फोटोका लागि केही फिचर सुधारिएका छन् । सिरीलाई अनुवाद गर्नसमेत सक्ने बताइएको छ । आइफोन सेभेन, सेभेन प्लस, सिक्स एस, सिक्स एस प्लससहित, सिक्स, सिक्स प्लस, आइफोन एसई र फाइभ एस प्रयोगकर्ताले नयाँ आईओएस अपडेट गर्न सक्नेछन् ।

 

फेसबुकबाटै इन्स्टाग्राम
फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले यसै साता आफ्नो मासिक प्रयोगकर्ता ८ सय मिलियन नाघेको तथ्यांक सार्वजनिक गरेको छ । र, यसै साता फेसबुकले आफ्नो मोबाइल एपमा इन्स्टाग्राम जोड्ने नयाँ फिचर सुरु गर्ने घोषणा गरेको छ ।
प्रयोगकर्ताले अब फेसबुक एपबाट सोझै इन्स्टाग्राम प्रयोग गर्न पाउने भएका छन् । फेसबुकले आफूले यो फिचर सुरु गर्ने सार्वजनिक गर्दै प्रयोगकर्तालाई यसले सजिलो बनाउने दाबी गरेको छ ।
फेसबुकको मोबाइल एपको मेन न्याभिगेसन मेनुमा अब प्रयोगकर्ताले इन्स्टाग्रामको लिंक पाउनेछन् जहाँ क्लिक गर्दा इन्स्टाग्राम एप खोलेझैं प्रयोगकर्ता इन्स्टाग्राममा पुग्नेछन् ।

 

ट्वीटरको पनि लाइट एप


माइक्रो ब्लगगिङ साइट ट्वीटरले कम डाटा खपत गर्ने र टुजी नेटवर्कमा पनि चल्ने लाइट भर्सनको मोबाइल एपको परीक्षण थालेको हो । उसले अहिले फिलिपिन्सका प्रयोगकर्तामाझ यस्तो परीक्षण गरिरहेको जनाएको छ ।ट्वीटरको लाइट एप एक एमबीभन्दा सानो साइजको र ७० प्रतिशत कम डाटा खपत गर्ने कम्पनीले जनाएको छ । यसलाई डाटाबाट इन्स्टल गर्दा पनि तीन एमबीभन्दा कम डाटा खपत हुने कम्पनीको दाबी छ ।
स्लो स्पिड डाटा भएको स्थानका प्रयोगकर्तालाई लक्षित गरी चाँडै एप सार्वजनिक गर्ने कम्पनीको योजना छ । ट्वीटरले यही वर्ष अप्रिलको पहिलो साता मोबाइल वेबका लागि लाइट भर्सन सार्वजनिक गरेको थियो । यसअघि फेसबुकले पनि आफ्नो एप र म्यासेन्जरको लाइट भर्सन सार्वजनिक गरिसकेको छ ।