You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

भारतमा सम्पादकको हत्या

- कान्तिपुर संवाददाता

नयाँदिल्ली (बीबीसी)– जम्मु–कश्मीरको राजधानी श्रीनगरमा ‘राइजिङ कश्मीर’ अखबारका सम्पादक सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्या भएको छ । श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय बुखारीमाथि गोली प्रहार भएको हो । जम्मु–कश्मीरका डीजीपी एसपी वैदका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारी र उनका निजी सुरक्षा अधिकृतको मृत्यु भएको हो । अर्का एक व्यक्ति घाइते छन् ।


जम्मु–कश्मीरकी मुख्यमन्त्री मेहबुबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन् । उनले ट्वीटमा भनेकी छन्, ‘सुजात बुखारीको हत्या आतंकवादको जघन्य कार्य हो, इदको पूर्वसन्ध्यामा यो आक्रमण गरिएको छ । शान्ति बहालीलाई असफल पार्ने प्रयासविरुद्ध हामी एकजुट हुनु जरुरी छ ।’ भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि बुखारीमाथिको आक्रमण कायरतापूर्ण कार्य भन्दै भत्र्सना गरेका छन् । कंग्रेस अध्यक्ष राहुल गान्धीले पनि हत्याप्रति दु:ख व्यक्त गरेका छन् ।


सम्पादक बुखारीमाथि सन् २००० मा पनि आक्रमण भएको थियो । त्यसयता उनलाई राज्यले प्रहरी सुरक्षा उपलब्ध गराएको थियो । कश्मीरमा शान्ति बहालीका लागि उनी लामो समयदेखि सक्रिय थिए । उनले आफ्नो अन्तिम ट्वीटमा भनेका थिए, ‘कश्मीरमा हामीले गर्वका साथ पत्रकारिता गरिरहेका छौं, यहाँ जे भइरहेको छ, हामी त्यसलाई जनसमक्ष ल्याई नै रहनेछौं ।’

गृह पृष्ठ

प्रधानमन्त्रीको चीन भ्रमण: दर्जन सहमति र सम्झौता हुने

- चन्द्रशेखर अधिकारी

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा करिब एक दर्जन सहमति र सम्झौता हुने भएका छन् । तर, यातायात तथा पारवहन प्रोटोकलले भने अन्तिम रूप नपाउने भएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा रसुवागढी–केरुङ र तातोपानी–खासा नाकामा पुल निर्माण, नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण, कृषिमा सरकारी तथा निजी साझेदारी र सातै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरको तयारी रहेको जानकारी दिए ।


यस्तै, खाद्यान्न ढुवानीका निम्ति तिब्बतका राजमार्ग उपयोग गर्न ८ वटा सीमा नाकाले पहुँच पाउनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनेछ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणका प्रक्रिया तथा दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापनाबारे पनि सहमति हुनेछ । दुईदेशीय उक्त संयन्त्रले विभिन्न स्तरमा छलफल गर्दै आपसी सम्बन्ध उचाइमा लैजाने पनि उनले बताए ।
ज्ञवालीले भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने घोषित सहयोग रकमको उपयोग र कामलाई तीव्र रूपमा अघि बढाउनेबारे पनि छलफल हुने बताए । करिब एक हजार मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी क्यास्केट जलविद्युत् आयोजनामा चीनको निजी क्षेत्रले लगानी गर्ने विषय पनि छलफलमा छ । नेपालको बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआईजी कम्पनीबीच मस्र्याङ्दीका विभिन्न स्थानमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने समझदारीमा हस्ताक्षरको तयारी छ । निकै चर्चामा रहेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का परियोजना, तिनको निर्माण तथा लगानीको ढाँचाबारे नेपाल अझै स्पष्ट हुन नसकेकाले यसमा लामो छलफल हुनेछ । मन्त्री ज्ञवालीले दुवै मुलुकबीच बीआरआईका विषयमा छलफल भइरहेको बताए । ‘नेपालको राष्ट्रिय आवश्यकताका विभिन्न परियोजनै बीआरआईअन्तर्गत निर्माण गरिनेछ,’ उनले भने ।
भ्रमणका क्रममा समुद्री बन्दरगाह र सुक्खा बन्दरगाह प्रयोगका विषयमा पनि छलफल हुने बताइएको छ । पारवहन प्रोटोकल तय भइनसकेकाले यसमा सहजता देखिँदैन । सूचना तथा सञ्चार प्रवाहका निम्ति अप्टिकल फाइबर उपयोग गर्ने र अन्य राष्ट्रिय हित एवं स्वार्थका परियोजनामा पारस्परिक सहयोगबारे पनि सम्झौता हुने ज्ञवालीले बताए । खाद्यान्न ढुवानीका लागि नेपालबाट तिब्बतको राजमार्ग हँुदै मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति रसुवागढीमा एक, हुम्लाको हिल्सामा एक, बझाङको उरिपासमा दुई, दार्चुलाको तिंकरमा दुई र ताप्लेजुङको तिप्लापासमा दुई नाका उपयोगमा ल्याइनेछ । यो नाका पहिले नै सञ्चालनमा रहेको भए पनि तिब्बती हाईवे उपयोग हुन नपाउँदा त्यहाँबाट सामान ढुवानीमा समस्या परेको थियो ।


नेपालको समृद्धितर्फको यात्रालाई ध्यान दिएर चीन निजी क्षेत्रसँगको सहकार्यमा बढी केन्द्रित देखिएको छ । यो भ्रमणमा नेपालको विकासका लागि भौतिक पूर्वाधार निर्माणका केही परियोजनामा चिनियाँ सहयोग उपहारका रूपमा समेत आउन सक्ने बताइएको छ । मन्त्री ज्ञवालीले भ्रमण विकास र समृद्धिका लागि उपयोगी हुने बताए ।


दुई देशका प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डल वार्ता हुनेछ भने दुईपक्षीय सहमतिका लागि प्रतिनिधिमण्डलमा रहेका मन्त्री तथा सचिवहरूले आआफ्नो खाका प्रस्तुत गर्नेछन् । यसको तयारीका लागि एक टोली अहिले पनि बेइजिङमा छ । प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी चिनफिङसँगको वार्ता र अन्य छलफलले दुई देशबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास परराष्ट्रमन्त्री ज्ञवालीको छ ।


२०७२ चैतमा भएका द्विपक्षीय सहमति, सन्धि र सम्झौता कार्यान्वयन गराउनेमा प्रधानमन्त्री ओलीको भ्रमण केन्द्रित हुने उनले बताए । तर अघिल्लो पटकको भ्रमणमा गरिएको पारवहन सम्झौतामा ३३ प्रतिशतसम्मको इन्धन चीनबाट ल्याउन सक्नेजस्ता सहमति गरेका ओलीले यस पटक भने त्यसलाई अन्तिम रूप दिन नसक्ने भएका छन् । ‘व्यापार तथा पारवहनका साथै स्वतन्त्र व्यापार क्षेत्रका विषयमा द्विपक्षीय छलफल जारी छ, निकट भविष्यमै निष्कर्षमा पुगिनेछ,’ मन्त्री ज्ञवालीले भने ।


५४ सदस्यीय सरकारी टोली
प्रधानमन्त्री ओली आगामी मंगलबार चार मन्त्रीसहित ५४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै ६ दिने चीन भ्रमणमा निस्किँदै छन् । औपचारिक नियुक्ति नलिएका र सरकारी पदमा नरहेकालाई समेत सरकारी खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश गरिएको परराष्ट्र अधिकारीले बताए । प्रधानमन्त्रीको भ्रमणमा ३५ व्यापारी र १० सञ्चारकर्मी आफ्नै खर्चमा जाने भएका छन् । भारत भ्रमणका क्रममा नेपाली ध्वजावाहक विमान प्रयोग गरेका ओली यसपटक भने चिनियाँ र नेपाली लगानीको हिमालयन एयरलाइन्सबाट चीन जाँदै छन् । अघिल्लोपटक पनि उनी यसै एयरलाइन्सको विमानमा चीन गएका थिए । उनी काठमाडौंबाट सिधै बेइजिङ जानेछन् ।


सार्क हाम्रो प्राथमिकता : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नेपालको प्राथमिकतामा रहेको बताए । सार्क र बिमस्टेकलाई एकै स्थानमा राख्न नहुने उल्लेख गर्दै उनले भने, ‘हामीले सार्क शिखर सम्मेलनको पनि पहल गरिरहेका छौं । छिट्टै बिमस्टेक सम्मेलन पनि गर्नेछौं । नेपालले प्रस्ताव गरेको समयमा बिमस्टेक सम्मेलन हुने निश्चित छ ।’ भुटानमा निर्वाचन घोषणा भइसकेकाले त्यहाँको सरकारले सहभागिता जनाउने तर दूरगामी सहमतिमा हस्ताक्षर नगर्ने सर्तअनुरूप सम्मेलन हुने भएको हो । उनले आफूले हालै गरेको मंगोलिया भ्रमण उपयोगी रहेको भन्दै नेपालजस्तै भूपरिवेष्टित मुलुकहरूको साझा चासोमा छलफल भएको बताए ।


मन्त्री ज्ञवालीले प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने बताए । उनले मापदण्ड तय गरेर क्षमतावान्लाई मात्र राजदूत बनाउने पनि स्पष्ट पारे । ‘परराष्ट्र र बाहिर जहाँबाट बने पनि क्षमतावान् व्यक्ति मात्र राजदूत बन्नेछन्,’ उनले भने । उनले कूटनीतिक आचारसंहिता पनि अन्तिम चरणमा रहेको बताए ।

Page 2
समाचार

यूएनडीपीए कार्यालय तीन महिनाभित्र बन्द : राष्ट्रसंघ

- कान्तिपुर संवाददाता

काठमाठौं (कास)– राष्ट्रसंघीय राजनीतिक मामिला विभाग (यूएनडीपीए) को ललितपुरस्थित कार्यालय नेपाल सरकारसँगको परामर्शमा आगामी तीन महिनामा बन्द गरिने औपचारिक जानकारी राष्ट्रसंघले दिएको छ ।


यूएनडीपीएले बिहीबार विज्ञप्ति जारी गरी नेपाल सरकार परराष्ट्र मन्त्रालयको आग्रहलाई ध्यानमा राख्दै दुईपक्षीय परामर्शमा कार्यालय बन्द गर्न लागेको जनाएको हो ।


‘परराष्ट्र मन्त्रालयसँगको परामर्शमा आगामी तीन महिनाभित्रमा सम्पर्क कार्यालय बन्द गरिनेछ । राजनीतिक मामिला विभाग नेपाल सरकार तथा नेपाली जनतासँग निरन्तर साझेदारीको अपेक्षा गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न आएको राष्ट्रसंघीय मिसन (अनमिन) को बहिर्गमनपछि नेपाल सरकारसँगको परामर्शमा शान्ति प्रक्रियाका
बाँकी कार्य सघाउन उक्त कार्यालय नेपालमा स्थापना भएको पनि राष्ट्रसंघले जनाएको छ ।


सन् २०११ मा स्थापित सम्पर्क कार्यालयले त्यसयताका वर्षमा सरकार तथा बृहत नेपाली साझेदारसंग निकट सहकार्य र साझेदारी गरेको भन्दै युएनडीपीएले नेपालसंग सधै निकट रहेर अघि बढ्ने जनाएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युएनडीपीए र विराटनगरस्थित भारतीय फिल्ड कार्यालय बन्द गर्ने निर्णय दुवै कूटनीतिक उपलब्धीको रुपमा ब्याख्या गरेका थिए । राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियामा सहयोग गरेको निकायलाई बन्द गर्ने सरकारको निर्णयप्रति बेखुशी ब्यक्त गरिसकेको थियो । सरकारले राजनीतिक स्थिरता हुदै अब विकासकार्य अघि बढेको बताउँदै यस्ता कार्यालय आवश्यक नभएको जनाएको थियो ।

समाचार

खाडीका राम्रा कम्पनीमा मात्रै कामदार

मागपत्र जाँचबुझ निर्देशिका
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् ।


साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताए । ‘जुन कम्पनीले नेपाल सरकारले तोकेको न्यूनतम तलब निर्धारण गरेको छ । नेपाली कामदारले समस्या भोगेका छैनन्, त्यस्तोलाई मात्रै कामदार ल्याउन अनुमति दिन थालेका छौं,’ शर्माले भने । शर्माका अनुसार साउदीमा कामदार अलपत्र बनाउने म्यानपावरको नयाँ डिमान्डसमेत रोकिएको छ । ‘जुन म्यानपावरले ल्याएका कामदार समस्यामा छन् र उसले अर्को कम्पनीको डिमान्ड ल्याएर अनुमति मागेको अवस्थामा कामदार ल्याउने अनुमति दिइएको छैन,’ उनले भने ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख ३१ देखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका’ कार्यान्वयन गर्न नेपाली दूतावासलाई अख्तियारी दिएपछि कम्पनी र म्यानपावरमाथि कडाइ गर्न थालिएको हो । नेपाली दूतावासलाई विश्वास लाग्ने कागजात पेस गरे मात्रै रोजगारदाताले नेपाली कामदार लैजान पाउनेछन् । निर्देशिकाअनुसार रोजगारदाताले दूतावाससमक्ष कार्यरत नेपाली कामदारको अवस्था, उनीहरूको पछिल्लो तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाताको वैधानिकतालगायत कागजात पेस गर्नुपर्छ । निर्देशिकाअनुसार अब नेपाली कामदार लैजाने कम्पनी मागपत्र प्रमाणीकरण गर्न आफैं नेपाली दूतावास पुग्नुपर्छ । दूतावासले मागपत्र प्रमाणीकरण/अभिलेख नगरेसम्म कामदार ल्याउने प्रक्रिया सुरु हुँदैन । ‘हामीले कतारका कम्पनीलाई तीन तहमा वर्गीकरण गरेका छौं । भिसा, टिकटको खर्च बेहोर्नुका साथै म्यानपावरलाई सेवा शुल्क दिने कम्पनीलाई कामदार ल्याउन तुरुन्तै अनुमति दिन्छौं,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘फिल्ड अनुगमनसमेत गरिएको छ ।’


मागपत्र दूतावासबाट मात्रै प्रमाणीकरण हुने भएपछि रोजगारदाता कम्पनी दूतावासप्रति गम्भीर देखिन थालेका छन् । ‘कुनै कम्पनीमा पुराना नेपाली कामदारको समस्या छ भने त्यो समाधान नगरेसम्म नयाँ कामदार लान पाउने स्थिति अब छैन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने । प्रमाणीकरणले रोजगारदाता कम्पनीबाट नेपाली कामदारले तलब, सेवासुविधा पाउने ग्यारेन्टी हुने स्थिति बनेको छ । खाडी देशमध्ये कतारले मात्रै न्यूनतम तलब ७ सय ५० रियाल तोकेको छ । अरू देशले कामदार र कम्पनीबीच जति सम्झौता हुन्छ, त्यति नै तलब दिलाउने जिम्मेवारी लिन्छन् ।

समाचार

विवादले समिति गठनमा ढिलाइ

नाम दिनुअघि पार्टीका कमी–कमजोरीबारे छलफल गर्नुपर्ने पौडेल पक्षको सर्त
- कान्तिपुर संवाददाता

काठमाडौं– कांग्रेसको संस्थापन र इतरपक्षबीचको विवादले विधान मस्यौदा समिति गठनमा ढिलाइ भएको छ । सभापति शेरबहादुर देउवाले समिति गठनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग चारजनाको नाम मागेका छन् । तर, पौडेल पक्षले पार्टीभित्रका कमी–कमजोरीबारे बृहत् छलफलपछि मात्रै नाम दिने सर्त राखेको छ ।


देउवाले विधान मस्यौदा समिति, अनुशासन समिति र विभाग गठनका विषयमा सोमबार पनि पौडेलसँग छलफल गरेका थिए । त्यसक्रममा पौडेलले पार्टीका समग्र कमी–कमजोरीबारे शीर्ष नेताबीच छलफल भएपछि मात्रै समिति गठन गर्नुपर्ने सर्त दोहोर्‍याएका थिए । जिल्ला सभापति भेलाअगावै विधान मस्यौदा समिति गठन गर्न उपसभापति विमलेन्द्र निधिले दुई सातादेखि अग्रसरता देखाइरहेका छन् । उनले विधान मस्यौदा र अनुशासन समितिमा राख्ने सदस्यको नाम दिन पटक–पटक आग्रह गर्दा पनि पौडेल पक्षले नाम नदिएकाले समिति गठन हुन नसकेको बताए । ‘तत्काल विधान मस्यौदा समिति गठन गर्न पौडेलजीले आग्रह गर्नुभएको हो तर अहिले नाम दिनुभएको छैन,’ निधिले कान्तिपुरसँग भने, ‘सभापति भेलाअघि नै बनाउने कोसिस भइरहेको छ ।’


महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खडकामध्ये एकजनाको संयोजकत्वमा समिति बनाउने तयारी छ । निधिले नौ सदस्यीय समिति बनाउन पौडेलसमक्ष प्रस्ताव राखेका छन् । जसमा संस्थापन पक्षबाट ५ र संस्थापनइतर पक्षबाट ४ सदस्य राख्ने निधिको तयारी छ ।


‘सभापति भेलामा विधान मस्यौदा समितिका विषयमा सुझाव आउने भएकाले त्यसअघि नै समिति बनाउनुपर्छ भनेर म लागिरहेको छु,’ निधिले भने ।

समाचार

नेकपाको नियमावली तयार

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल कम्युनिस्ट पार्टीको कार्य सञ्चालनसम्बन्धी नियमावली तयार भएको छ । नियमावली मस्यौदा कार्यदलले दुवै अध्यक्षलाई बिहीबार प्रतिवेदन बुझाएको छ । नियमावलीमा केन्द्रमा ३२ वटा विभाग राख्न प्रस्ताव गरेको छ । त्यस्ता विभाग मन्त्रालयगत र पार्टी कामसँग सम्बन्धित हुने जानकारी कार्यदल सदस्य वेदुराम भुसालले दिए । सरकारमा मन्त्रालय जति छन्, ती विषयसम्बन्धी काम हेर्ने गरी विभाग रहेनछन् । विधान र नियमावलीमाथि छलफल गर्न शनिबार नेकपाको स्थायी समिति बैठक बोलाइएको छ ।

समाचार

प्रमाण बटुल्दै आयोग

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जिल्ला–जिल्लामै पुगेर उजुरी हाल्ने पीडितसँग घटनाबारे थप जानकारी लिन थालेको छ । आयोग टोलीले ३६ भन्दा बढी जिल्ला पुगेर उजुरी हाल्ने पीडितलाई २६ पृष्ठको एन्टीमार्टम फारम भर्न लगाएको हो । आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा, सोलु र कञ्चनपुरमा यतिखेर विवरण संकलन गर्ने काम भइरहेको छ ।

समाचार

नेकपा दर्ताविरुद्ध रिट

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता इन्दु तुलाधर, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायत १२ जनाले समावेशीको मापदण्ड पूरा नगरेको दललाई आयोगले हचुवाका भरमा दर्ता गरेको भन्दै दर्ताको निर्णय खारेजीको माग गरेका हुन् ।

समाचार

एलायन्सनिकट भएकामा कांग्रेस नेताको आपत्ति

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– स्थापनाकालदेखि सोसलिस्ट इन्टरनेसनलको सदस्य रहेको कांग्रेस पछिल्लोपटक त्यसको विकल्पमा स्थापित प्रोग्रेसिभ एलायन्सनिकट हुन पुगेको छ । पार्टीभित्र छलफलै नभई एलायन्सको निकट बनेकामा नेताहरूले असन्तुष्टि पोखेका छन् । कांग्रेसकै आयोजनामा नेपालमा एलायन्सको यही जुन २९ र ३० मा ‘न्याय र प्रगतिका लागि सँगै’ भन्ने नाराका साथ कार्यक्रम आयोजना हुँदै छ । यसलाई लिएर कांग्रेस नेता अर्जुनरसिंह केसीले आपत्ति जनाए ।

Page 3
समाचार

बजेट नछुट्याइएकामा सांसदको आक्रोश: ‘मन्त्रीलाई जेल हाल्नुपर्छ’

सत्तापक्षकै सांसद विरोधमा उत्रिएपछि बैठक सारियो
- मकर श्रेष्ठ

काठमाडौं– आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदहरूले मन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरूले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् ।


सत्तापक्षकै सांसद मन्त्रीविरुद्ध उभिएपछि संसद् सचिवालयले शुक्रबारका लागि निर्धारित बैठक आइतबारलाई सारेको छ । शुक्रबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको थियो । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको बजेटमाथि छलफलक्रममा सत्तापक्षका सांसदहरूले मन्त्रीको चर्को विरोध गरे । सांसदहरूले अर्थमन्त्री युवराज खतिवडाको भन्दा पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारी र खेलकुदमन्त्री जगतबहादुर सुनारको बढी आलोचना गरे । दाङ १ बाट निर्वाचित मेटमणि चौधरी र कैलाली २ बाट निर्वाचित झपट रावल अन्य सांसदभन्दा बढी आक्रोशित भए ।


सांसद चौधरीले आफ्नो क्षेत्रमा बजेट नपार्ने मन्त्रीलाई जेल हाल्नुपर्ने बताए । मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट छुट्याएर म्याच फिक्सिङ गरेको आरोप उनले लगाए । ‘म्याच फिक्सिङ गर्ने खेलाडीको हातमा हतकडी लाग्छ । जेल जानुपर्छ । आज मन्त्रीहरूले बजेट र कार्यक्रम फिक्सिङ गर्दै आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन् । म्याच फिक्सिङ गर्ने खेलाडीले जेल जानुपर्छ भने बजेट र कार्यक्रम फिक्सिङ गर्ने मन्त्री जेल जानुपर्छ कि पर्दैन ? जेल जानैपर्छ,’ पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाम लिँदै चौधरीले भने, ‘यस्ता मन्त्रीबाट देश न उँभो लाग्न सक्छ, न सम्पन्न हुन सक्छ न त जनता खुसी हुन सक्छन् । जसरी फिक्सिङ गर्ने खेलाडीलाई देशद्रोहको आरोपमा जेल पठाइन्छ, त्यस्तै आफ्नो निर्वाचन क्षेत्रमा मात्रै कार्यक्रम पार्ने मन्त्रीलाई जेल पठाउनुको विकल्प छैन, जेल पठाउनैपर्छ ।’


चौधरीले बोलिरहँदा सभामुखको जिम्मेवारी राधा ज्ञवालीले सम्हालेकी थिइन् । रोस्ट्रममा सांसद बोलिरहँदा सत्तापक्षका सांसदहरूले थप आक्रोशित हुँदै एकआपसमा चर्को स्वरमा मन्त्रीको विरोध गर्न थालेपछि ज्ञवालीले भनिन्, ‘शान्त रहिदिन आग्रह गर्दछु ।’


सांसद रावलले पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नछुट्याएको भन्दै तीनवटै मन्त्रालयको विनियोजित बजेटको पुस्तक मन्त्रीलाई फिर्ता गरेका छन् । ‘नांगो आँखाले आफ्नो क्षेत्रमा बजेट परेको नदेखेपछि चस्मा किनेर पनि हेरें, केही देखिनँ,’ रावलले भने, ‘मन्त्रीजीलाई हार्दिक धन्यवाद दिन्छु । उहाँहरूको सद्बुद्धि आओस् । मैले हस्ताक्षर गरेर मन्त्रालयगत बजेटको पुस्तक लिएको थिएँ । मेरो क्षेत्रमा बजेट नभएपछि सभामुखमार्फत यो पुस्तक फिर्ता गर्न चाहन्छु ।’ उनले उक्त पुस्तक मन्त्रीहरूलाई नै फिर्ता गरे ।


बिहीबारको छलफलमा पर्यटनमन्त्री अधिकारी भने थिएनन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढा संसद्मा थिए । कर्णाली प्रदेशमा पर्यटनसम्बन्धी ५७ वटा कार्यक्रम परेकामा ४४ वटा डोल्पामा मात्रै रहेको भन्दै सांसदहरूले विरोध गरे । कास्कीका सांसद खगराज अधिकारीले पर्यटनको बजेटमा आफ्नो क्षेत्रमा कार्यक्रम नपारेको भन्दै पर्यटनमन्त्रीको विरोध गरे । कास्की क्षेत्र २ र ३ मा पर्याप्त बजेट छुट्याए पनि आफ्नो क्षेत्रमा नछुट्याएको रिस उनले रोस्ट्रमबाटै पोखे ।


सांसदहरूले मन्त्रीको विरोध गर्दा असभ्य तरिकाले गालीगलौजमा उत्रिएपछि शुक्रबारका लागि निर्धारित बैठक आइतबारलाई सारिएको संसद् सचिवालयले जनाएको छ । ‘सांसदले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिन थालेपछि बैठक सारिएको हो,’ संसद् सचिवालय उच्च स्रोतले भन्यो । नेकपाले संसदीय दलको बैठक डाकेर सांसद र मन्त्रीबीच छलफल गराएपछि बैठक राखिने स्रोतले जनाएको छ । सांसदहरूले असन्तुष्टि जनाउँदै मन्त्रालयको विनियोजित बजेटको पुस्तक च्यात्नेसम्मका योजना बनाएकाले बैठक सार्न नेकपाकै सांसदले सभामुखलाई प्रस्ताव गरेका थिए ।


शून्य समयमा महँगीको विरोध
प्रतिनिधिसभामा बिहीबार शून्य समय सुरु भएको छ । शून्य समयमा बोल्ने सांसदले मूल्य वृद्धि अकासिएकाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । सांसद अमनलाल मोदीले दैनिक उपभोग्य वस्तुको चरम मूल्य वृद्धि र हाहाकार भएको बताए । ‘चर्को मूल्य वृद्धिमा मौनता हैन, सशक्त अनुगमन होस्,’ उनले भने । अर्का सांसद अमरेशकुमार सिंहले सरकार र व्यापारीको मिलिभगत भएकाले मूल्य बढेको आरोप लगाए । नेकपाका खगराज अधिकारीले बजारमा कृत्रिम अभाव र सिन्डिकेट कायम रहेकाले सरकारले अनुगमन गरी कारबाही गर्नुपर्ने बताए ।


प्रतिपक्षी सांसद प्रकाश रसाइलीले सरकारले कर बढाएकाले व्यापारीले कमाउन मूल्य वृद्धि गरेको आरोप लगाए । अतहर कमाल मुसलमानले इदमा सार्वजनिक बिदा दिन माग गरे । इन्द्रकुमारी शर्माले महोत्तरीमा भएको बलात्कार घटनाका पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरिन् । उमा रेग्मीले सभामुख र उपसभामुख संविधानअनुसार फरक पार्टीको हुनुपर्ने बताइन् । संविधान पालना गर्न उनले आग्रह गरिन् । गणेश ठगुन्नाले दार्चुलाको जिल्ला अस्पताल छिटो बनाउन सरकारको ध्यानाकर्षण गरे । शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ५ दिनभित्र दिनुपर्ने व्यवस्था संसद् नियमावलीमा छ ।

 

नियमावली उल्लंघन
छलफलमा भाग लिने सांसदले अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द बोलेमा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको मानिने व्यवस्था छ । नियमावलीको नियम २१ अन्तर्गत छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमको ‘ङ’ मा कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने किसिमले असर पर्ने गरी छलफलमा बोल्न नपाइने उल्लेख छ । तर, सांसदहरूले आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको गाली गरेका छन् । यसरी जानीजानी नियमावली उल्लंघन गर्ने सांसदलाई १५ दिनसम्म निलम्बन गर्न सकिने व्यवस्था छ । नियमावलीको नियम ३२ मा सदस्य निलम्बनको प्रावधान छ । नियम ३२ को उपनियम १ मा नियमावलीको जानीजानी उल्लंघन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले तोक्न सक्नेछन् । नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछन् । उक्त प्रस्ताव पारित भएमा त्यस्तो सदस्य निलम्बन भएको मानिन्छ । निलम्बित सदस्यले त्यसपछिको बढीमा पन्ध्र दिनसम्म सभा र समिति बैठकमा उपस्थित हुन नपाउने व्यवस्था छ ।

समाचार

अवकाशपछि ‘कन्सल्ट्यान्सी’ रोक !

पहिलेको शक्तिको आडमा आफूलाई प्रस्तुत गरेर अवकाशपछि फाइदा लिनु नाजायज– उमेश मैनालीअध्यक्ष, लोक सेवा आयोग
- अब्दुल्लाह मियाँ

काठमाडौं– सरकारी सेवाको सचिव–सहसचिवबाट अवकाश भएलगत्तै दातृ निकाय र विदेशी नियोगद्वारा सञ्चालित आयोजनामा परामर्शदाता बनेर ‘आर्थिक लाभ’ मा केन्द्रित हुने प्रवृत्ति रोक्न सरकारले कानुन बनाउन लागेको छ । अवकाशलगत्तै अधिकांश सचिव–सहसचिव दातृ निकायको पहुँचमा पुगेर ‘लाभ प्राप्तिका लागि’ जस्तोसुकै अभिलेख, गोप्य सूचना, सल्लाह, सुझावसमेत दिन थालेपछि सरकारले कडाइ गर्न लागेको हो । शक्तिमै रहेका बखत दातृ निकाय र उनीहरूद्वारा सञ्चालित आयोजना वा संस्थासँग नजिक हुने र अवकाशपछि ती निकायमा पुगेर लाभ लिन लालायित हुने प्रवृत्ति बढ्दो छ ।


सामान्य प्रशासन मन्त्रालयले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तहरूको व्यवस्था गर्न बनेको विधेयक’ मा सचिव र सहसचिवबाट निवृत्त निजामती कर्मचारीलाई अवकाशको दुई वर्षसम्म राजनीतिक नियुक्ति लिन, दातृ निकायको आयोजनामा परामर्शदाता बन्न तथा कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय–राष्ट्रिय गैरसकारी संस्था र निजी प्रतिष्ठानमा काम गर्न रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको हो । सामान्यले तयार पारेको ऐनको मस्यौदा कानुन मन्त्रालय पुगेको छ ।


लोकसेवा आयोग अध्यक्ष उमेश मैनालीले अवकाश प्राप्त प्रथम र विशिष्ट श्रेणीका व्यक्तिलाई दुई वर्ष परामर्शदाता बन्न प्रतिबन्ध लगाउनु उत्तम भएको प्रतिक्रिया दिए । ‘यसो भयो भने कन्फ्लिक्ट अफ इन्ट्रेस्ट पनि हुँदैन,’ उनले भने, ‘अवकाशपछि पनि पहिलेको शक्तिको आडमा आफूलाई प्रस्तुत गरेर फाइदा लिनु नाजायज हो ।’


मस्यौदामा अवकाशपछि राजनीतिक नियुक्ति लिन, नेपालस्थित कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय–राष्ट्रिय गैरसकारी तथा निजी संघ, संस्थामा कर्मचारी र परामर्शदाताका रूपमा काम गर्न नपाउने उल्लेख छ । पूर्वसचिव शान्तराज सुुवेदीले सचिव वा सहसचिव पदमा बहाल छँदै अवकाशपछि काम गर्ने गरी कुनै आईएनजीओ वा दातृ निकायमा जागिर सुरक्षित गर्ने परिपाटी बनेका बेला ल्याइएको दुई वर्ष रोक्काको प्रस्ताव उचित भएको बताए । ‘त्यसरी लामो समय काम गरेर अनुभव हासिल गरेका व्यक्तिबाट राज्यले लाभ लिने हो, अवकाशपछि कन्सल्ट्यान्सी गर्दा व्यक्ति आर्थिक सम्पन्न हुनेबाहेक राज्यलाई फाइदा पुग्दैन,’ उनले कान्तिपुरसँग भने, ‘अवकाश हुनेबित्तिकै आईएनजीओ र दातृ निकायकहाँ काम गर्दा सरकारका गोप्य सूचना बाहिरिने सम्भावना पनि त्यत्तिकै हुन्छ । त्यसैले कन्सल्ट्यान्सीमा प्रतिबन्ध लगाउने गरी सरकारले बनाउन लागेको कानुन उपयुक्त छ ।’


प्रशासनविद् काशीराज दाहालले राज्यको नीति–निर्माणमा लामो समय बसेका व्यक्तिले सेवाबाट निवृत्त हुनेबित्तिकै अन्यत्र काम गर्दा सम्बन्धित निकाय र सरकारबीच स्वार्थहरू बाझिन सक्ने भएकाले अवकाश पाएका व्यक्तिलाई केही समय रोक्ने पद्धति विश्वभर प्रचलनमा रहेको बताए । ‘कुलिङ पिरियड’ भनिने यो पद्धति राज्यको हितका लागि बनाइन्छ । ‘राज्यको अहितमा काम नगरोस् र आफ्नो अनुकूल नीति नबनाओस् भनेर केही समय बन्देज गर्न खोजिएको हो,’ उनले भने, ‘अवकाश प्राप्त व्यक्तिले राष्ट्रको हितलाई छाडेर आफ्नो वा आफूले परामर्श दिने निकायको हितमा फाइदा नगरोस् भन्ने मुख्य ध्येय हो ।’ अन्य मुलुकमा पनि उच्च पदस्थ पदबाट अवकाश पाएका कर्मचारीका लागि ४, ५ र ६ वर्षको ग्याप राखिन्छ ।
पदमा बहाली भएकै बखत कुनै दातृ निकाय वा आईएनजीओमा संलग्न हुने उद्देश्यस्वरूप ‘लचिलो’ नीति बनाउने र अवकाशपछि ती निकायमा बसेर नाजायज फाइदा लिने उदाहरण प्रशस्त भेटिन्छन् । सरकारले त्यस्तो प्रवृत्तिलाई निस्तेज गर्न खोजेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीले बताए । बहालवाला निजामती कर्मचारीलाई समेत कडिकडाउ गर्न खोजिएको छ । मस्यौदाअनुसार कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन र राजनीतिक क्रियाकलापमा संलग्न हुन रोक लगाइनेछ । सेवा अवधिमा निजामती कर्मचारीले आर्थिक लाभ लिने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले काम गर्न नपाउने प्रस्ताव गरिएको छ । कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सञ्चालनका काममा भाग लिन र सरकारको पूर्वस्वीकृति नलिई कसैबाट दान, दातव्य, कोसेली, उपहार स्वीकार गर्न तथा चन्दा माग्नसमेत नपाउने प्रस्ताव छ ।


‘सरकारलाई जानकारी नदिई विदेशी सरकार र तिनको प्रतिनिधिबाट उपहार लिन प्रतिबन्ध लगाइएको छ,’ मस्यौदामा छ, ‘अख्तियारवालाको स्वीकृति नलिई स्वदेश तथा विदेशका कार्यक्रममा सहभागी हुन, प्रवचन दिन र कार्यपत्र प्रस्तुत गर्न पाइने छैन ।’ आर्थिक लाभ वा कुनै सुविधा नलिई, कार्यालयको काममा बाधा नपर्ने गरी गैरराजनीतिक पेसागत संगठन वा सामाजिक संस्था (साहित्य, कला, खेलकुद, संगीत, विज्ञान र धर्म) मा सक्रिय रहन भने छुट दिने प्रस्ताव छ ।


मस्यौदामा तोकिएका आचरण बर्खिलाप गर्नेलाई नसिहत दिनेदेखि कानुन उल्लंघन गर्नेलाई सेवाबाट हटाउन सक्नेसम्मको व्यवस्था मस्यौदामा छ । मादक पदार्थ सेवन गरी कार्यालय जाने, स्वीकृति नलिई दुईपटकभन्दा बढी कार्यालयमा अनुपस्थित हुने र बरबुझारथ नगर्नेलाई नसिहत दिने, अनुशासनहीन काम गर्ने, अनियमितता सम्बन्धमा दिएको निर्देशन पालना नगर्ने, सेवाग्राहीको पीरमर्का र उजुरी पटक–पटक बेवास्ता गर्नेलाई ५ वर्ष बढुवा रोक्काका साथै तलब वृद्धि रोक्काको व्यवस्थासमेत प्रस्ताव गरिएको छ । पटक–पटक मादक पदार्थ सेवन गरी कार्यालय प्रवेश गरे, आदेश पालना नगरे, ९० दिन कार्यालयमा गयल भए, राजनीतिक दलको सदस्यता लिए र बहुविवाह गरे सेवाबाट बर्खास्त वा हटाउन सकिनेसमेत मस्यौदामा प्रस्ताव छ ।


पदको जिम्मेवारी पूरा नगर्ने, स्वीकृति नलिई विदेश भ्रमण, अध्ययन र तालिममा सहभागी हुने र अध्ययन भ्रमण पूरा गरी ३० दिनभित्र कार्यालय हाजिर नहुने कर्मचारीसमेत बर्खास्त हुने प्रस्ताव छ । यस्तै, नैतिक पतन र फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिए, भ्रष्टाचार गरे, जासुसी गरे, अदालतबाट तीन वर्ष वा बढी कैद सजाय भएका बखत भविष्यमा समेत सरकारी सेवाका निम्ति अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गरिने प्रस्ताव गरिएको छ ।

 


सरकारले सुवेदीलाई फिर्ता बोलायो


काठमाडौं (कास) – सरकारले एसियाली विकास बंैकको मनिलास्थित मुख्यालयमा वैकल्पिक निर्देशकका रुपमा कार्यरत पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ ।


मन्त्रिपरिषद्को बिहीबारको बैठकले सुवेदीलाई फिर्ता बोलाउँदै उनको स्थानमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट र राष्ट्रिय समाचार समितिको अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’ लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

समाचार

अदालतको आदेशप्रति कानुनमन्त्री असन्तुष्ट

मन्त्री तामाङ भन्छन्– ‘भीएलएन अध्यक्षलाई कम धरौटीमा छाड्ने आदेशमा कैफियत देखियो, न्यायपरिषद्मा लान्छु’
- होम कार्की

काठमाडौं– कानुन न्याय, तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मलेसिया जाने कामदारसँग अवैध रूपमा रकम उठाउने मलेसिया भीएलएन प्रालिका सञ्चालक राम श्रेष्ठलाई कम धरौटी लिएर छाड्ने जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् । तामाङले आदेश जारी गर्ने न्यायाधीश अमृतकुमार बस्नेतबारे न्यायपरिषद्मा कुरा लैजाने बताएका छन् ।
सरकारी वकिल कार्यालयले श्रेष्ठविरुद्ध २ अर्ब ८६ करोड रुपैयाँ बिगो दाबी र ५ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले बुधबार उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । श्रेष्ठ हार्भेस्ट मुन समूहका अध्यक्षसमेत हुन् ।


मलेसियासँग जोडिएको बायोमेडिकलमार्फत स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाका सञ्चालक देवान राईविरुद्ध २ करोड ५४ लाख रुपैयाँ बिगो दाबी गरेको मुद्दामा अदालतले ५१ लाख रुपैयाँ धरौटी मागेको थियो । ‘न्यायाधीशलाई श्रेष्ठ निर्दोष लागेको छ भने त्यतिकै छाडिदिएको भए हुन्थ्यो, किन १० लाख रुपैयाँ धरौटी माग गरिराख्नुपर्‍यो र ?’ तामाङले कान्तिपुरसँग भने, ‘यो आदेशमा कैफियत देखिएको छ । न्यायाधीशहरूबारे कुरा उठाउने ठाउँ न्यायपरिषद् हो । यसमा मैले गम्भीर ढंगले कुरा उठाउनेछु ।’ उनले मलेसिया जाने कामदारसँग जोडिएको विषय सामान्य नभएको पनि बताए । ‘यो राष्ट्रिय विषय हो । लाखौं कामदार ठगिएका छन् । सरकार ठगी गर्नेविरुद्ध लागिरहेको छ,’ उनले भने ।


जिल्ला अदालतमा धरौटी बुझाएर छुटेलगत्तै पुन: पक्राउ परेका श्रेष्ठलाई अर्को ठगी मुद्दामा अनुसन्धान गर्न ललितपुर प्रहरीलाई जिम्मा लगाइएको थियो । श्रेष्ठले ठगी गरेको उजुरी ललितपुरमा रहेकाले काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई जिम्मा लगाएको थियो । भीएलएनको रजिस्टर्ड कार्यालय ललितपुरमा छ । श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले बिहीबार ४ दिनको म्याद दिएको छ । ‘भीएलएनविरुद्ध यहाँ मुद्दा छ । यसबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ ललितपुर प्रहरी परिसरका प्रवक्ता नारायण चन्दले भने ।


भीएलएनले मलेसिया जाने कामदारको राहदानी संकलन गर्ने र तिनलाई भिसा लगाउन मलेसियन दूतावास पुर्‍याएबापत प्रतिकामदार ६ हजार ७ सय रुपैयाँ लिँदै आएको थियो । कामदारसँग रकम उठाउन श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले अनुमति दिएको छैन ।


भीएलएनले ‘कम्प्युटर सफ्टवेयर उत्पादन गरी बिक्रीवितरण गर्ने, स्वदेशी तथा विदेशी कम्पनीको एजेन्सी लिई सफ्टवेयरसम्बन्धी सेवा उपलब्ध गर्ने, स्वदेशी तथा विदेशी सफ्टवेयर प्रयोग गरी नेपाल सरकार तथा विदेशी नियोगमा सेवा प्रदायकको कार्य गर्ने, विदेशी नियोगको स्वीकृतिमा भिसा, सफ्टवेयरसम्बन्धी सेवा उपलब्ध गराउने, सम्बन्धित सेवा प्रदायकसँग बाह्य स्रोत प्रयोगसम्बन्धी सम्झौता गरी सफ्टवेयरसम्बन्धी सूचना प्रदान गर्ने र सूचना प्रविधिसम्बन्धी अध्ययन तथा तालिम प्रदायकको कार्य गर्ने’ उद्देश्य राखेर कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएको थियो । तर, भीएलएनले सम्बन्धित मन्त्रालयसँग स्वीकृति नलिई मलेसिया जाने कामदारसँग भिसा प्रक्रियाको नाममा रकम असुली गर्दै आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यी कार्य गैरकानुनी भएको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो ।


भीएलएनले कामदारसँग संकलन गरेको रकम हङकङस्थित अल्ट्राटेक एज के लिमिटेडलाई पठाउँदै आएको छ । नेपाली कामदारसँग रकम संकलन गर्न भीएलएनले मलेसियन कम्पनी अल्ट्राकिरानासँग १२ वर्षसम्मको सम्झौता गरेको थियो, जसलाई नेपाल सरकारले अनुमति दिएको थिएन ।

Page 4
वाग्मती प्रदेश

ढिलासुस्तीले लागत दोब्बर

कुलेखानी–३ जलविद्युत् आयोजना
- प्रताप विष्ट
मकवानपुरको भैंसेस्थित सानुटारमा निर्माणाधीन कुलेखानी–३ जलविद्युत् आयोजना । तस्बिर : कान्तिपुर

हेटौंडा– इलेक्ट्रोमेकानिकलको ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारण कुलेखानी–३ को निर्माण कार्य अनिश्चित बनेको छ । उक्त कार्यको चिनियाँ कम्पनी चीनको जिज्याङले ठेक्का
पाएको थियो ।


चीनकै सिनो हाइड्रो कम्पनीले ठेक्का लिएको सिभिल वर्कको निर्माण कार्य सम्पन्न भइसके पनि २ रोटर जडान गर्नुपर्ने र टावर निर्माण गर्नुपर्ने लगायतका काम अझै बाँकी छन् ।
सिनो हाइड्रोले ३ महिनाअघि नै आफ्नो काम सम्पन्न गरेर पत्र बुझिसकेको छ । इलेक्ट्रोमेकानिकलको निर्माण कार्य अत्यन्त सुस्त छ । केही दिन अघिसम्म ३ चिनियाँ र २० नेपालीले काम गरे पनि प्रगति सुस्त छ ।


१५ दिनपछि आउने भनेर ३ चिनियाँ मंगलबार आफ्नो देश फर्किसके । ‘इलेक्ट्रोमेकानिकलको काम कछुवा गतिमा छ,’ आयोजनाका एक प्राविधिकले भने, ‘यही तालले काम भयो भने सन् २०१८ मा पनि सम्पन्न हुँदैन ।’ ७ वर्षअघि नै सम्पन्न गर्नुपर्ने उक्त आयोजनाको काम हालसम्म पनि अलपत्र छ । जिज्याङले हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न गरेको छ । ३ टावर निर्माण गर्नुपर्नेमा एउटा मात्र निर्माण भएको छ । ‘गेट निर्माण तथा तार टाँग्ने कार्य सुरु भएकै छैन,’ आयोजनाका एक अधिकृतले भने, ‘तीव्र गतिमा काम गरियो भने कम्तीमा ६ महिना लाग्छ, यस्तै तरिकाले एक वर्षमा पनि सकिने ठेगान छैन ।’


नेपाल विद्युत् प्राधिकरणले सिभिल वर्कको जिम्मा लिएको ठेकेदार कम्पनीलाई चैत १ गतेसम्म म्याद थप गरेको थियो । उक्त कम्पनीले आफ्नो जिम्माको काम सकेर फर्किसकेको छ । ‘सरकारले चिनियाँ सरकारमार्फत ठेकेदार कम्पनीका अधिकारीलाई झिकाएर दबाब दिनुपर्छ अनि मात्र यहाँ काम हुन्छ,’ प्राधिकरणका एक अधिकृतले भने, हुलासका मानिसबाट यहाँ काम हँुदैन ।’ चिनियाँ ठेकेदार कम्पनीले हुलासलाई जिम्मा दिएको छ । विद्युत् गृहमा जडान गर्ने उपकरणहरू निर्माणस्थलमा आइसकेका छन् तर जडानको काम भने हुन सकेको छैन । ढिलाइका कारण आयोजनाको लागत र समय बढेको छ । करिब ५ अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । २०६४ चैतदेखि काम सुरु गरिएको आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । पटक/पटकको म्याद थपसँगै लागत पनि झन्डै २ अर्ब बढ्ने अनुमान गरिएको छ । कुलेखानी ३ को सुरु निर्माण लागत २ अर्ब ४३ करोड अर्थात् प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो । अहिले लागत बढेर ४ अर्ब ६३ करोड अर्थात् प्रतिमेगावाट ३३ करोड रुपैयाँ पुगेको छ ।


अझ यो लागत बढ्ने निश्चितजस्तै छ । ४४ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना ११ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । निजी क्षेत्रबाट मकवानपुरको इपापञ्चकन्या निर्माणाधीन जलविद्युत् आयोजना भने तोकिएको समयभन्दा पनि ९ महिनाअघि नै सम्पन्न हुँदै छ । आयोजनाबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै छ । ४ अर्ब लागतमा निर्माण सम्पन्न हुने आयोजनाको प्रतिमेगावाट लागत १८ करोड छ । आयोजनाले जिज्याङ कम्पनीलाई हर्जना पनि तिराइसकेको छ । हर्जाना तिराइसकेकाले उसलाई काम सम्पन्न गर्न समय थप्नु पर्दैन । हर्जाना तिराउँदै छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्ने वा ठेक्का खारेज गर्नेबाहेक अन्य विकल्प प्राधिकरणसँग छैन । कुलेखानी तेस्रो १४ मेगावाट जलाशय बनाउन नपर्ने ‘क्यास्केड प्रोजेक्ट’ हो । वार्षिक सरदर ४० दशमलब ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता रहेको आयोजनामा हालसम्म करिब ४ अर्ब खर्च भइसकेको छ ।

वाग्मती प्रदेश

बजेट आज : सुशासन, पर्यटन र कृषिलाई प्राथमिकता दिइने

- नगेन्द्र अधिकारी

हेटौंडा– प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को वार्षिक राजस्व तथा व्ययको अनुमान (बजेट) शुक्रबार (आज) ल्याउँदै छ ।


आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नेछन् । मन्त्री ढुंगेलले न्यूनतम २५ देखि ४० अर्बको हाराहारीमा बजेट हुने दाबी गरे । ‘४० अर्बभन्दा बढीको बजेट हुँदैन,’ सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अकंबारे भोलि नै थाहा हुन्छ ।’ मन्त्रालयका सचिव वसन्त अधिकारीले प्रदेशसभाबाट पारित बजेटका सिद्धान्त, प्राथमिकता र आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमलाई ९५ प्रतिशत कार्यान्वयन गर्ने गरी बजेट आएको दाबी गरे । प्रदेश सरकारले सुशासन प्रवद्र्धन, आर्थिक विकास, कृषिको आधुनिकीकरण, व्यावसायीकरण र विविधीकरण, पर्यटन विकास, पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको प्रवद्र्धन, स्वास्थ्यमा सहज, सरल र सुविधाजनक पहुँच, औद्योगिक विकास र उत्पादकत्वमा वृद्धि, वन संरक्षण विकास र उपयोग, भूमिको उपयोग र व्यवस्थापन, लक्षित वर्ग कार्यक्रम र नतिजामा आधारित अनुगमनलाई प्राथमिकतामा राखेर बजेट बनाएको जनाएको छ ।


आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेश गौरवका योजनाका रूपमा अगाडि बढाइने भनिएको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ मार्ग परियोजना र पुष्पलाल प्रदेश चक्रपथ (रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली–काभ्रे) लाई सम्भाव्यता अध्ययनका लागि मात्रै बजेट विनियोजन हुने भएको छ । काठमाडांै उपत्यका काँठ ग्रामीण चक्रपथ, कम्तीमा सय मेगावाटसम्मको हाइड्रोपावर निर्माण परियोजना, गौरीशंकर–जुगल–गणेश हिमालका आधार शिविर जोड्ने उच्च हिमाली पदमार्ग परियोजना, प्रदेश विश्वविद्यालय परियोजना, मरिन सहर निर्माण परियोजना, भक्तपुर–पाँचखाल सुरुङ मार्ग परियोजना र इन्द्रावती–भीमटार–पाँचखाल सिँचाइ परियोजनालाई उच्च प्राथमिकता दिएर अध्ययनका लागि बजेट विनियोजन भएको स्रोतले बतायो । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम सञ्चालन गरी जिल्ला सदरमुकाम तथा नजिकको लोकमार्गदेखि स्थानीय तहको मुकामसम्मका सडकलाई स्तरोन्नति गर्दै आगामी पाँच वर्षभित्र कालोपत्रे गरिने नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार बजेट विनियोजन हुने मन्त्रालय स्रोतले जनाएको छ । सरकारले विकासको नाममा अनुदान छर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको जनाएको छ । एकै भूगोलमा संघ, प्रदेश र स्थानीय तहका योजना तथा कार्यक्रम छनोट भई सञ्चालन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश सरकारले दोहोरो वा तेहरोपन नपर्ने गरी छनोट गरिएको मन्त्रालयको दाबी छ ।

वाग्मती प्रदेश

कृषिमा कर हटाउन माग

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– कृषि आयमा कर लगाउन गरिएको प्रस्ताव हटाउन कांग्रेसका दुई सांसदले संशोधन दर्ता गराएका छन् । कृषि आयमा कर लगाउन ‘न्यायोचित नहुने’ भन्दै सांसद प्रभात तामाङ र छिरिङ दोर्जे लामाले ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को दफा १३ र त्यसका सबै उपदफाहरू हटाउन भन्दै संशोधन दर्ता गराएका हुन् । कृषि आयमा कर लगाउने व्यवस्थासहितको उक्त विधेयक बुधबार प्रदेशसभा बैठकमा प्रस्तुत भएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलमा पनि सांसदहरूले कृषि आयमा कर लगाउँदा मूल्यवृद्धि हुने र गरिब किसानका लागि न्यायोचित नहुने धारणा राखेका थिए ।


कृषिमा आय कर लगाउने अधिकार संविधानले प्रदेशलाई दिएको छ । संसद्मा प्रस्तुत विधेयकमा धान, गहुँ, कोदो, फापर, मकै, फलफूल, तरकारी, आलु, मासुजन्य पदार्थ, माछा, दूध, तेलहनजस्ता अन्य खाद्यवस्तुको उत्पादनको बिक्रीबाट हुने आयमा कर लाग्ने उल्लेख छ । स्वयं घोषणा गरी आफ्नो कृषि आय प्रस्तुत गर्ने कृषकहरूका लागि कृषि आयमा तोकिएबमोजिमको कर लगाइने र असुलउपर गरिने विधेयकमा छ । प्रदेश सरकारले निर्धारण गरेबमोजिम हुने कर सरकारले तोकेको कार्यालयले संकलन गर्ने उल्लेख छ ।


यता, आफैंले प्रस्तुत गरेको विधेयकको व्यवस्थामाथि आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले भने अनविज्ञता प्रकट गरेका थिए । किसानको उत्पादनमा कर लगाउनेकी व्यापारीले बिक्री गरेपछिको आयमा लगाउने भन्ने अझै टुंगो नलागेको भन्दै उनले लागू गराउने बेलासम्म यसको टुंगो लगाउने दाबी गरेका थिए ।

वाग्मती प्रदेश

अन्तरजातीय विवाह गर्ने सम्मानित

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौडा (कास)– अन्तरजातीय विवाह गर्नेलाई बिहीबार एक समारोहबीच हेटौंडामा सम्मान गरिएको छ । सामाजिक कुरीतिविरुद्ध चुनौती दिँदै अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चद्वारा आयोजना तथा हेटौंडा उपमहानगरको सहयोगमा विवाहित जोडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सम्मान गरेका थिए । अन्तरजातीय विवाह गर्ने हेटौंडा उपमहानगरपालिका ३ का देवेन्द्र विश्वकर्मा र चुना श्रेष्ठ, ४ का किशोर देउला र कविता वाइबा, ८ का शिव गुरुङ र संगीता विक, ९ का दीपसागर मिजार र प्रकृति केसी, १० का निरज रानामगर र सीता सुनार तथा बुद्ध लामा र मुनु परियारलाई सम्मान गरिएको हो । यसैगरी सम्मानित हुनेमा हेटौंडा उपमहानगरपालिका ११ का सरोज सुनार र सविता थिङ, १२ का शिशिर मिजार र विपना राई, १४ का दिलिप परियार र आइसा लामा, १७ का अजय सुनार र कल्पना अधिकारी तथा संगम दुतराज र विनिता राई तथा १८ का सुदन मग्राती र दुर्गा खड्का छन् ।

वाग्मती प्रदेश

डुबेर मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

दोलखा (कास)– तामाकोसी नदीमा पौडी खेल्दा १४ वर्षका प्रकाश तामाङको डुबेर मृत्यु भएको छ । शैलुङ गाउँपालिका वडा नं. ६ का प्रकाश बुधबार पौडी खेल्ने क्रममा हराएका थिए । खोजीको क्रममा उनी बैतेश्वर गाउँपालिका–६ स्थित ठूलोबगरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश

क्षेत्रीय होटल संघमा माकजू

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– क्षेत्रीय होटल संघ, काभ्रेको अध्यक्षमा प्रेमकण्ठ माकजू पुन: चयन भएका छन् । बिहीबार भएको साधारणसभाले प्रथम उपाध्यक्ष किरण श्रेष्ठ, द्वितीय उपाध्यक्ष भोला थापा, सचिव ज्योत्स्ना सैंजू, कोषाध्यक्ष दिपेश धिनाञ्जु तथा सदस्यहरूमा रत्न कार्की, शिव कार्की, रवीन्द्र थापा, कृष्णप्रसाद तिवारी, उपेन्द्र लामिछाने, टोम सापकोटा, हरिहर बडाल र मनीष घिमिरेलाई चयन गरेको छ ।

वाग्मती प्रदेश

चौधरी फाउन्डेसनद्वारा विद्यालयलाई सहयोग

छोटकरी
- कान्तिपुर संवाददाता

चितवन (कास)– चौधरी फाउन्डेसनले भरतपुर महानगरपालिका–२० मेघौलीमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयलाई साढे ११ लाख रुपैयाँ बराबरको सयहोग गरेको छ । फाउन्डेसनले विद्यालयमा पानी शुद्ध गर्ने प्लान्ट स्थापनाका लागि उक्त सहयोग गरेको हो । प्रतिनिधिसभा सदस्यसमेत रहेका फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले उद्घाटन गरे । चौधरी ग्रामको व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) विभागका प्रमुख रामचन्द्र धितालका अनुसार फाउन्डेसनले प्लान्टका साथै विद्यालयमा रंग लगाउन र विद्यार्थीका लागि सय थान स्कुल झोला वितरण गरिएको छ । २०५६ सालमा स्थापना भएको विद्यालयमा ८२ जना अध्ययनरत छन्् । एकाधबाहेक सबै विद्यार्थी कुमाल समुदायको रहेको प्रधानाध्यापक शोभा कुमालले बताइन् । कक्षा तीनसम्म पढाइ हुने गरेको छ ।

 

Page 5
उपत्यका

हतियार बिगबिगी

प्रहरीले राजधानीमा एक सातामै बन्दुकको आडमा गुन्डागर्दी र अवैध असुली धन्दामा संलग्न ७ जनालाई पक्राउ गरिसकेको छ
प्रहरी भन्छ– इजाजत प्राप्त हतियार कसले कहाँ र कुन प्रयोजनका निम्ति राखिरहेको छ भन्नेबारे खोजबिन जरुरी
- जनकराज सापकोटा

काठमाडौं– प्रहरी परिसर काठमाडौंबाट खटिएका डीएसपी अनिल ठकुरीको टोलीले बुधबार राति ठमेलबाट एक थान पेस्तोलसहित दुई जनालाई पक्राउ गर्‍यो । काभ्रेको झैटी देउराली घर भई सीतापाइला बस्ने देवकुमार थापा र धादिङ ज्वालामुखी ३ घर भएका कमल गुरुङलाई प्रहरीले एक थान कटुवा बन्दुक र १ थान खुकुरीसहित पक्राउ गर्‍यो । प्रहरीका अनुसार यी दुवै गुन्डा समूह राधेसँग निकट थिए । प्रहरीले दुवैमाथि हतियार देखाएर ठमेल र ज्याठालगायत क्षेत्रमा होटल तथा रेस्टुरेन्ट व्यवसायीबाट रकम असुल्ने गरेको आरोप लगाएको छ ।


हतियारको बलमा गुन्डागर्दी गरेको आरोपमा प्रहरीले पछिल्लो एक सातामा ७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैको साथबाट हतियार बरामद भएको छ भने त्यसैको बलमा उनीहरूले गुन्डागर्दी, ठेक्का हात पार्ने र हप्ता असुली गरेको प्रहरीको आरोप छ । २७ जेठमा मात्रै महानगरीय प्रहरी अपराध महाशाखाले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर राखिएका हतियार दुरुपयोग गरेको आरोपमा ४ जनालाई पक्राउ गर्‍यो । महाशाखाले मिटर ब्याजको धन्दा गर्ने वीरेन्द्रलाल श्रेष्ठ, मेनपावर व्यवसायी रघुनाथ पुरी, गुन्डागर्दीमा संलग्न काजी शेर्पा र क्यासिनोमा मिटर ब्याजको धन्दा गर्ने बले भनिने बलराम सापकोटालाई पक्राउ गर्‍यो । विभिन्न मितिमा हातहतियार तथा खरखजाना ऐनअन्तर्गत अनुमति लिएर राखिएका हतियारको त्रास उत्पन्न गराउन हतियार देखाएर ठेक्का कब्जा गर्न र गैरकानुनी रूपमा मिटर ब्याजमा रकम लगाउन प्रयोग गरिएको भन्दै महाशाखाले चारै जनाको हतियार राख्ने इजाजत रद्द गरेको थियो ।


सोमबार मात्रै महानगरीय अपराध महाशाखाले ललितपुरको यूएन पार्कनजिक गोली हानी अशोक लामालाई पक्राउ गर्‍यो । प्रहरीले लामाको साथबाट पेस्तोल र २ राउन्ड गोलीसमेत बरामद गरेको जनाएको छ । महाशाखाका अनुसार लामाले पनि हतियारको बलमा सातदोबाटोदेखि भैंसेपाटी क्षेत्रका घरजग्गा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गरेको आरोप लगाएको छ । प्रहरीका अनुसार काभ्रेली गुन्डा समूहमा रहेर सक्रिय भएका लामा मिटर ब्याजको धन्दामा समेत सामेल थिए । लामामाथि यसअघि पनि कर्तव्य ज्यान र सार्वजनिक अपराधको मुद्दा चलेको थियो ।


पछिल्लो एक सातामा भएका यी तीन फरक घटनाले बन्दुकको आडमा कसरी गुन्डागर्दी र अवैध असुलीको धन्दा उपत्यकामा चलिरहेको छ भन्ने बुझाउँछ । अपराध महाशाखाका एक प्रहरीका अधिकारीका अनुसार राजधानीमा सक्रिय अधिकांश गुन्डा समूहसँग आफ्नै बन्दुक छ । प्रहरीले कतिपय गुन्डा समूहले हतियार भाडामा लगाउने गरेको र भाडाको बन्दुककै भरमा करकापमा पारेर रकम असुल्ने वा अवैध धन्दा सञ्चालन गर्ने क्रम जारी छ । प्रहरी परिसर काठमाडौंले गरेको अनुमानमा काठमाडौंमा मात्रै करिब २ हजारको संख्याका अवैध बन्दुक छन् । जसको प्रयोग विभिन्न गुन्डा र आपराधिक पृष्ठभूमिका व्यक्तिले गरिरहेका छन् । अपराध महाशाखाका एक उच्च अधिकारीका काठमाडौंमा बरामद भएका साना हतियारमध्ये सबभन्दा धेरै रक्सौल र सुनवल नाकाबाट भित्रिएका देखिन्छन् । प्रहरी परिसर काठमाडौंले मात्रै वैशाखयताको दुई महिनामा मात्रै ३ हतियार पक्राउ गरेको छ । परिसरका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार धेरैजसो बन्दुकको प्रयोग अपराधजन्य क्रियाकलापका निम्ति भएका छन् । थापाको अनुभवमा साना हतियार राजधानीको सुरक्षाका लागि ठूलो खतरा बन्दै गएका छन् ।


अपराध महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंह इजाजतप्राप्त व्यक्तिले लिएका हतियार के काममा उपयोग भइरहेको छ भन्नेबारे अनुसन्धानको खाँचो रहेको बताउँछन् । उनका अनुसार इजाजत प्राप्त हतियार कसले कहाँ र कुन प्रयोजनका निम्ति राखिरहेको छ भन्नेबारे खोजबिन जरुरी छ । काठमाडौंमा सीमावर्ती भारतीय नाकाबाट भित्रिएको हतियारका अलवा सशस्त्र द्वन्द्वकालमा माओवादीले उपयोग गरेका हतियार पनि गुन्डागर्दी गर्ने समूहको हातमा पुगेको प्रहरी अनुसन्धानले देखाउँछ । प्रहरीका अनुसार खासगरी २०६८ मा जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने लाइसेन्स वितरण गर्दा त्यसको लाभ धेरै गुन्डागर्दी र आपराधिक समूहमा आबद्धहरूले लिएका थिए । महाशाखाका एसएसपी सिंहका अनुसार हतियारको त्रास देखाएर ठगीदेखि हप्ता असुलीसम्मको धन्दा भइरहेको छ । आफूलाई सुरक्षा खतरा भएको भन्दै हतियार लिने र इजाजतप्राप्त हतियारको बलमा आपराधिक गतिविधि गर्नेहरूको थप पहिचान पनि भइरहेको उनले बताए ।

उपत्यका

राष्ट्रिय कला संग्रहालय: पुनर्निर्माण अन्योलमा

- कान्तिपुर संवाददाता
टेकोले अडयाइएको भूकम्पले क्षतिग्रस्त भक्तपुरको सिंहध्वाका दरबार (राष्ट्रिय कला संग्रहालय भवन) ।तस्बिर : लीला श्रेष्ठ

भक्तपुर– भूकम्पले क्षतिग्रस्त राष्ट्रिय कला संग्रहालयको भवन टेकाकै भरमा अडिएको छ । संग्रहालयमा प्रदर्शनीमा राखिएका पुरातात्त्विक सामग्रीहरू भने स्टोरमा थन्क्याइएका छन् । संग्रहालय अवलोकनका लागि आउने आन्तरिक तथा बाहय पर्यटकले सबै पुरातात्त्विक सामग्री अवलोकन गर्न पाउँदैनन् । भूकम्पको ३८ महिना बित्दा पनि विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायरको ‘न्ह्याकं झ्या दरबार’ अर्थात् सिंहध्वाका दरबार (राष्ट्रिय कला संग्रहालय) पुनर्निर्माण हुन सकेको छैन । यसको पुनर्निर्माण कहिले हुने भन्ने पनि अन्योल छ ।


संग्रहालय पुनर्निर्माणका लागि पुरातत्त्व विभागले ठेक्का लगाइसकेको छ । भक्तपुर नगरपालिकाले भने ठेक्का रद्दका लागि विभागलाई अनुरोध गरेको छ । विभागले पुनर्निर्माणका लागि ५ करोड ६५ लाख ६७ हजार ६ सय १८ रुपैयाँमा सानु सुवाल/एसपी/जेभीलाई जिम्मा लगाएको छ । पुनर्निर्माण/जीर्णोद्धारको जिम्मा पाएको कम्पनीले आगामी आव ०७५/७६ भदौ मसान्तभित्र काम सक्नुपर्नेछ । तर, काम सुरु गर्न लाग्दा नगरपालिकाले ठेक्का प्रक्रिया नै खारेज गर्न विभागलाई आग्रह गरेपछि पुनर्निर्माण अलपत्र परेको हो । सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नुपर्ने भन्दै नगरपालिकाले सरोकारवाला व्यक्तिको सुझाव संकलन गर्दै ठेक्का रद्दको माग गरेको हो ।


भूकम्पपछि टेकोकै भरमा अडिएको भक्तपुर दरबार स्क्वायर क्षेत्रको लायुचोकको उत्तरतर्फ रहेको यो दरबार पनि पुरानै शैलीमा पुनर्निर्माण गर्न सम्पदा संरक्षणविद्, पुरातत्त्वविद्, इतिहासविद्हरूले जोड दिएका छन् । दरबार जीर्णोद्धारका लागि विभागबाट विनियोजित बजेट नगरपालिकाको कोषमा निकासा गर्न माग रहेको नगरप्रमुख सुनील प्रजापतिको भनाइ छ । भन्छन्, ‘नगरपालिकाको नियमानुसार अमानतमा वा उपभोक्ता समितिमार्फत पुनर्निर्माण गर्ने निर्णय हुनेछ ।’ नगर उपप्रमुख रजनी जोशीले तयार पारेको कार्यपत्रअनुसार सिंहध्वाका दरबार विस १७५४ अर्थात् नेपाल संवत् ८१८ मा राजा भूपतिन्द्र मल्लले निर्माण गरेको हो ।


विभिन्न कालखण्डमा पुनर्निर्माण जीर्णोद्धार गरिएको यो दरबार मालती चोक प्रवेशद्वारका रूपमा अहिले राष्ट्रिय कला संग्रहालय रहेको छ । यसको प्रवेशद्वारमा जोडा सिंहबाट पश्चिमतर्फ मल्लकालीन शैली र सिंहदेखि पूर्व अर्थात स्वर्णद्वारतर्फ चुनले पोतेको राणाकालीन (निओ क्लासिक) शैली दरबार गरी दुई खण्डमा विभाजित छ । दरबारको मूलद्वारमा देवताको मूर्तिमा अभिलेखसहित ढुंगाको एक जोडी सिंह, ढुंगाको हनुमान र नरसिंहको मूर्ति छन् । २०७२ वैशाख १२ को भूकम्पले सिंहध्वाका दरबार (लाल बैठक) मा क्षति पुगेको छ । अबको पुनर्निर्माण पुरानै शैलीमा सिंहध्वाका र लालबैठकलाई एकै स्वरूपमा उपभोक्ता वा अमानतमा मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नुपर्ने संरक्षणविद्हरू बताउँछन् । पुरातत्त्वले सिंहध्वाका पुनर्निर्माण गर्दा नगरपालिकासँग समन्वय नगरेको नगरप्रमुख प्रजापतिको आरोप छ ।


पुरातत्त्व विभागले भने सिंहध्वाका दरबार मल्लकालीन शैलीमै पुनर्निर्माण गर्न लागेको जनाएको छ । ‘क्षतिग्रस्त टेकाको भरमा अडिएको दरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने गरी ठेक्का लगाएको हो,’ राष्ट्रियकला संग्रहालय भक्तपुर प्रमुख सरस्वती सिंहले भनिन्, ‘पुरातत्त्व र नगरपालिकाले समन्वय गरी तत्काल पुनर्निर्माण गर्नुपर्छ ।’ यसअघि पचपन्नझयाले दरबार जीर्णोद्धार गर्दा जस्तै नगरपालिका र पुरातत्त्वबीच समन्वय र सहकार्य गरी पुनर्निर्माण थाल्नुपर्ने उनी बताउँछिन् ।


नगर प्रमुख प्रजापति भने टेन्डर खारेज गर्न विभागलाई आग्रह गर्ने, दरबार जीर्णोद्धारका लागि पुरातत्त्वबाट विनियोजित बजेट भक्तपुर नगरपालिकाको कोषमा निकासा गर्न माग गर्ने तथा नगरपालिकाले नियमानुसार अमानतमा वा उपभोक्ता समितिमार्फत जीर्णोद्धार गर्नुपर्ने बताउँछन् ।

उपत्यका

आठ पत्रकार पुरस्कृत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बाल संवेदनशीलता पुरस्कारबाट ८ पत्रकार पुरस्कृत भएका छन् । पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा छापा, टेलिभिजन र रेडियोमा कार्यरत पत्रकारलाई जनही २५ हजार रुपैयाँको उक्त पुरस्कार प्रदान गरेको हो ।


बालबालिकाको क्षेत्रमा संवेदनशील भई समाचार सम्प्रेषण गरेको भन्दै उपत्यका र मोफसलका ८ पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेमा रेडियो कान्तिपुरका रमेश दुलाल, राष्ट्रिय समाचार समितिका सुशील दर्नाल र नेपाल वातावरण पत्रकार समूहकी रेणुका आचार्य छन् । कार्यक्रम प्रस्तोतातर्फ पुरस्कृत हुनेमा सामुदायिक सूचना नेटवर्कमा कार्यरत गीता चिमोरिया र नेपाल वातावरण पत्रकार समूहकी दुर्गा कार्की छन् । त्यसैगरी कान्तिपुर टेलिभिजनमा कार्यरत अमृता अनमोल र रेडियो सिद्धबाबाकी मनकुमारी पुलामीलाई पनि पुरस्कार प्रदान गरिएको छ ।


कार्यक्रममा ६ पत्रकार महिलालाई संयुक्त रूपमा लैंगिक समानता पुरस्कार २०७४ प्रदान गरिएको छ । मदरल्यान्ड नेपालको सहयोगमा १ लाख २० हजार रुपैयाँको उक्त पुरस्कार लैंगिक समानताको नारासहित सगरमाथा आरोहण गरेका रोशा बस्नेत, रोजिता बुद्धाचार्य, डोमा शेर्पा, कल्पना महर्जन, देउराली चाम्लिङ र सगरमाथा अरोहण प्रयास गर्ने प्रियलक्ष्मी कार्कीलाई प्रदान गरिएको हो ।

उपत्यका

मृत फेला

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मित्रनगरस्थित एक गेस्ट हाउसमा नुवाकोटका २० वर्षीय अमित तामाङ बिहीबार मृत भेटिएका छन् । लक्ष्मण गजुरेलले सञ्चालन गरेको गेस्ट हाउसमा उनी सोमबारदेखि बस्दै आएका थिए ।

उपत्यका

ट्यांकरको ठक्करले मृत्यु

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कीर्तिपुरमा बा१घ ६०९ नम्बरको ट्यांकरले बा९३प ८४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुमन कटुवालको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक कटुवाल सख्त घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

उपत्यका

लागूऔषधसहित ३ पक्राउ

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । बुधबार बारा घर भएका २९ वर्षीय कृष्णप्रसाद चौलागाईंलाई २२ हजार थान ट्रमा, भिगोरा जिनेग्रा ९९ पत्ता, प्रिओवर किटलगायत लागूऔषधसहित पक्राउ गरिएको हो ।
यसैगरी गोठाटारमा पैसा चोरीको आरोप लागेका २ जनाको कोठा तलासी गर्दा लागूऔषध भेटिएको छ ।


लक्ष्मी रोक्का मगरले ५० हजार नगद हराएको आरोप लगाएपछि प्रहरीले काभ्रे घर भई गोठाटार बस्ने कर्म तामाङ र राम परियारको कोठामा तलासी गरेको थियो ।

Page 6
सम्पादकीय

प्रश्न सोध्ने अधिकारमा अंकुश

- कान्तिपुर संवाददाता

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रश्न सोधेकै कारण नेपाल टेलिभिजनको एउटा कार्यक्रम बन्द गराइनु उदेकलाग्दो छ । प्रस्तोता राजु थापाले सम्पत्ति विवरणका विषयमा सोधेर मन्त्री बाँस्कोटालाई ‘अप्ठ्यारो’ बनाउँदा १२ वर्षदेखि सञ्चालित टेलिभिजन कार्यक्रम ‘सीधा प्रश्न’ बन्द हुन पुगेको विडम्बनापूर्ण दृश्य देखिएको छ । प्रश्न सोधेर सूचना प्रवाह गर्ने जिम्मेवारीमा रहेका पत्रकारविरुद्ध सरकारले चालेको यस्तो कदम संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध छ । निरकुंश कार्यशैलीको झल्को दिने यस्तो कार्य लोकतान्त्रिक मूल्यमान्यताविपरीतसमेत छ । वामपन्थीको बहुमतीय सरकार बनेको केही महिनामै भएको यो घटनाले सरकार सर्वसत्तावादतर्फ उन्मुख हुने त होइन भन्ने संशयसमेत बढाएको छ ।


वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएदेखि नै चर्चाको विषय बन्दै आएको छ । त्यसमा उल्लिखित सुन–चाँदी र श्रीमतीका नाममा देखाइएका घरजग्गाबारे जनचासो छ । सार्वजनिक चासोको त्यही विषयलाई प्रस्तोता थापाले दुई साताअघि टेलिभिजन कार्यक्रम ‘सीधा प्रश्न’ मा सञ्चारमन्त्री बाँस्कोटासामु उठाएका हुन् । सार्वजनिक सम्पत्ति विवरणमा मन्त्री बाँस्कोटासँग १७ तोला सुन र ६० तोला चाँदी रहेको र ती ‘पैत्रिक, विवाहमा दिएको, माइतीले दिएको’ उल्लेख छ । प्रस्तोता थापाले कम्युनिस्ट पृष्ठभूमि जोड्दै दाइजोको कुरा उठाएपछि मन्त्री बाँस्कोटाले सम्पत्ति विवरणमा दाइजो लिएको उल्लेख नभएको दाबी गरेका थिए । थापाले सम्पत्ति विवरणको कागज देखाएपछि मन्त्री बाँस्कोटाले पूरै सुन–चाँदी दाइजो नभएको बताएका थिए । टेलिभिजन कार्यक्रममा मन्त्री बाँस्कोटा प्रस्तोतालाई अवमूल्यन गर्ने गरी जुन ढंगले प्रस्तुत भए, त्यसले समेत उनीप्रति नकारात्मक टिप्पणी बढाएको हो । जवाफ थापालाई होइन, टेलिभिजनमार्फत आम दर्शक/श्रोतालाई दिइरहेको हेक्का राख्न नसक्नु सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाको कमजोरी हो । सार्वजनिक ओहोदामा बसिसकेको व्यक्ति जनताप्रति जवाफदेही हुनुपर्छ । सार्वजनिक भइसकेको सम्पत्ति विवरण ढाकछोप हुने/गर्न सकिने विषय पनि होइन ।


मन्त्रीको कमजोरी उजागर भएपछि टेलिभिजन कार्यक्रम नै बन्द गराउने कार्य प्रतिशोधपूर्ण छ । यो सरकारलाई अप्ठयारो प्रश्न सोध्न निरुत्साहित गर्ने नियतले प्रेरित देखिन्छ । त्यसो त मन्त्री बाँस्कोटाले आफूले कार्यक्रम बन्द गर्न निर्देशन नदिएको दाबी गर्दै यो टेलिभिजनको आन्तरिक मामिला भएको बताएका छन् । प्रस्तोता थापाले भने मन्त्री बाँस्कोटाकै निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाउँदै आएका छन् । मन्त्री बाँस्कोटाको निर्देशन थिएन भने पनि किन र कसरी कार्यक्रमको प्रसारण रोकियो, त्यसको छानबिन हुनुपर्छ । प्रेसप्रति सरकारको दृष्टिकोणमै संशय सिर्जना गराउने गरी बन्द गराइएको टेलिभिजन कार्यक्रम नियम/सम्झौताअनुसार पूर्ववत् सञ्चालन गराइनुपर्छ । ‘सीधा प्रश्न’ करारमा उत्पादन गरिएको कार्यक्रम हो ।


मुलुकमा पहिलोपटक कम्युनिस्टको बहुमतीय सरकार बनेको केही महिनामै प्रेसमाथि अंकुश लगाउने प्रयास भएको छ । यसबाट सरकारको मनसायमाथि नै प्रश्न उठेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण हुनुपर्छ । प्रेसको स्वतन्त्रता नागरिकको सुसूचित हुने अधिकार रक्षाका लागि मात्र नभएर विधिको शासन स्थापना र लोकतन्त्र सुदृढीकरणका लागि पनि हो । त्यसको प्रत्याभूति संविधान र कानुनमा मात्र नभएर सरकारको व्यवहारमा झल्किनुपर्छ । प्रेस पनि मर्यादित र व्यावसायिक भने हुनुपर्छ ।


जनताको करबाट सञ्चालित सरकारी सञ्चारगृहको स्वतन्त्रता पनि बहसको विषय हो । सरकारी सञ्चारगृहलाई राजनीतिक भर्ती केन्द्र बनाइनु हुँदैन । राजनीतिक नियुक्तिले सरकार वा सत्तारूढ दलप्रति चाकडी बढाउँछ । चाकडीले पत्रकारिताको मर्मलाई मार्छ । सरकारी होस् वा निजी, सबै सञ्चारगृह निष्पक्ष, विश्वसनीय र व्यावसायिक पत्रकारिताको माध्यम बन्नुपर्छ । त्यसैले सरकारी सञ्चारगृहलाई संरचनागत र नीतिगत सुधार गर्दै स्वायत्त संस्थाका रूपमा विकास गर्न अत्यावश्यक छ । कर्मचारी/पत्रकारको नियुक्ति राजनीतिक आस्था होइन, योग्यता र क्षमताका आधारमा हुनुपर्छ । पत्रकारले राजनीतिक दलसँग निकट रहेर र कतिपय अवस्थामा पार्टी कार्यकर्ताकै रूपमा काम गर्ने प्रवृत्ति पनि देखिन्छ, जुन पत्रकारिता क्षेत्रको कमजोर पक्ष हो, यसलाई पनि सच्याउनुपर्छ ।

दृष्टिकोण

के हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

प्रत्यक्ष निर्वाचित राष्ट्रपति होस् अथवा कुनै पदलाई अधिनायकवाद भन्ने हो भने नगरपालिका, गाउँपालिका प्रमुखको निर्वाचनलाई पनि अधिनायकवादी भन्नुपर्ने हुन्छ ।
- श्रीकृष्ण अनिरुद्ध गौतम


संविधान आएसँगै देशको राजनीतिक परिदृश्यबाट पाखा परिसकेको प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रसंग भर्खरै फेरि चर्चामा आएको छ । यसलाई हालै दुई कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहालले पुन: चर्चामा ल्याएका हुन् । यद्यपि, तथापि, जबकि, जे भनौं यस प्रसंगमाथि टिकाटिप्पणी सुरु हुनासाथै उनी आफैं भने यो भनाइ तत्कालको प्रयोजनका लागि होइन भनेर बहसबाट तर्किन खोजेका छन् । नेपाली कांग्रेसले भने यस प्रसंगलाई लिएर धारेहात देखाएको छ ।


दाहाल सम्भवत: पार्टीका आफूजस्तै अर्का अध्यक्ष तथा अहिलेका प्रधानमन्त्री पनि अर्थात् खड्गप्रसाद शर्मा ओलीका अनुहारको भाव हेरेर, अहिले बोल्नु नहुने कुरा बोलिएछ कि भनेर सतर्क भएका हुन सक्छन् । किनभने ओली विश्वमै बिरलै पाइने ‘संसदीय प्रथावादी कम्युनिस्ट’ हुन् । राज्यको शासकीय स्वरुपका विषयमा उनको आफ्नै (अहिले पूर्व भइसकेको) एमाले जतासुकै ढल्किएको भए पनि उनी भने विशेष गरेर जेल जीवनपछि निरन्तर संसदीय प्रथाकै पक्षमा उभिएका हुन् । उनी कम्युनिस्टै भए पनि राजनीतिक बौद्धिकताका दृष्टिले भने नेपाली कांग्रेसका अधिकांश नेताजस्तै शास्त्रीय (क्लासिकल) छन्, संसदीय प्रथाका पक्षमा अविचल छन् ।


संविधान निर्माण भइरहँदा कांग्रेस नेताहरू र ओलीबीच शासकीय स्वरुपबारे समान दृष्टिकोण थियो र त्यो समानता त्यतिबेला जस्तै अहिले पनि कायमै छ, किनभने यो एउटा दिमागी बनोट हो । आज भलै ओलीले सपना, विपना र राष्ट्र, राष्ट्रियताका नाराका बलमा सत्ता एकोहोर्‍याएका कारण उनीसित कांग्रेसको चित्त फाटेको किन नहोस्, ओली र कांग्रेस मनले टाढा छैनन्, राजनीतिक प्रणालीलाई हेर्ने दृष्टिकोणमा एकै ठाउँमा छन् । दाहाल फरक हुन्, उनी आफ्ना एजेन्डाहरू हार्दै–हार्दै संसदीय प्रथाका शरणमा पुगेका हुन् । उनमा कुण्ठा छ, तृष्णा छ र कताकता वितृष्णा पनि छ । झन् गणतन्त्र ल्याइयो, आफ्नो ‘महान पार्टी’समेत ओलीका जिम्मा लगाइयो भन्ने पीडा त नहुने कुरै भएन ।


मन पोलेका, धेरै पीर परेका कुरा नबोलौं–नबोलौं भन्दाभन्दै पनि कसो–कसो मुखबाट फुत्किहाल्छन् । दाहालका मुखबाट हालै प्रस्फुटित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रसंग त्यस्तै हो । उनले वास्तवमा प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गम्भीर विमर्श होस्, बौद्धिक परामर्श चलोस् भनेर होइन, केवल आफूलाई ध्यानमा राखेर आफ्नो मनोकांक्षा बोलेका हुन् । मनको बह पोखेका हुन् । प्रसंगात् आफ्नो महत्त्वाकांक्षाको पुनर्वाचन मात्र गरेका हुन् । कदाचित, कसैमा कदापि दाहालले देशको सुदूर भविष्यप्रति चिन्तित भएर बोलेका हुन् भन्ने भ्रमचाहिंँ नपरोस् । देशको चिन्ता गर्ने राजनीतिकर्मी थिए कुनै बेला, आजका मितिमा विद्यमान अग्रपंक्तिमा त्यस्ता व्यक्ति दुर्लभ छन् ।


तथापि दाहालको तात्पर्य गम्भीर नभए पनि राजनीतिक बहसमा शिथिलता आइरहेका बेला यस भनाइले ताजगी दिने काम भने अवश्य गरेको छ । अन्यथा देशकै सोच ओलीका स्वप्नवाचनको समीक्षामा केन्द्रित भइरहेको थियो । दाहालले त्यति बोलेपछि, विरोधमै सही, निर्वाचनपछि बाक्के बसेका कांग्रेसको बोली फुटेको छ । जे बोले पनि बोलिफुट्नु खुसीको कुरा हो । बोल्नु त बोल्नु भइगयो, बोली हराएको मान्छे रुनु पनि राम्रो हो । तर रुँदा आफू को हुँ भन्नेचाहिँ नबिर्सिदिए राम्रो हुन्छ । कांग्रेसले कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन प्रस्तावमा अधिनायकवादी मनसुवा देख्यो, योचाहिँ सुन्दै अचम्म हो । किनभने कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन अधिनायकवाद होइन, बरु उहिल्यैको भारदारी प्रथा विकसित हुँदै आएको वर्तमान संसदीय प्रथाका तुलनामा धेरै नै उन्नत र लोकतान्त्रिक हो ।


संसदीय प्रथा के हो, कसरी विकसित भयो भन्ने यथार्थसँग परिचित हुन बेलायतको इतिहास पढ्नुपर्छ । बेलायतलाई भारतले अनुकरण गर्‍यो र २०१५ सालमा भारतकै प्रथा टपक्क टिपेर नेपाल ल्याइएको हो । २०४७ सालको संविधानमा त्यही प्रथालाई निरन्तरता दिइयो । २०६३ सालको अन्तरिम संविधानमा समानुपातिक हुलेर यसलाई अरु विकृत बनाइयो । यसमा केसम्म भयो र भइरहेको छ भने पति पहिलो हुने प्रथा अन्तर्गत निर्वाचित, पत्नीलाई महिला आरक्षण अन्तर्गत समानुपातिकबाट संसद सदस्यता दिलाइयो । नयाँ संविधानमा केही सच्याएर समानुपातिक प्रतिशतलाई ४० मा झारियो । पछि ऐनद्वारा ३ प्रतिशत थ्रेसहोल्ड राखियो । तर समानुपातिक प्रतिनिधित्वमाथि मनोमानी गर्ने चलन भने हटेन । प्रणालीको भावना मिच्दै तर प्रक्रिया पुर्‍याउँदै राजकीय सुविधाकै लोभले कतिपय प्रभावशाली नेताका परिवारै राज्यका प्रतिनिधि संस्थामा भित्र्याइएको यहाँ बिर्सनु हुँदैन ।


वर्तमान प्रथा केन्द्रको होस् अथवा प्रदेशका जनप्रतिनिधि र समानुपातिक अन्तर्गतका कतिपय कथित प्रतिनिधिहरूको बन्धकका रूपमा काम गर्न बाध्य छ । यसको पछिल्लो उदाहरणका रूपमा जनताबाट विरोध हुँदाहुँदै यसैपालिको बजेटमा समेत पहिलो हुने प्रथा अन्तर्गतका १६५ सांसदलाई निर्वाचन क्षेत्र विकासका नाममा जनही ४ करोड रुपैयाँ छुट्याइएको यथार्थलाई लिन सकिन्छ । प्रदेश छन्, जनस्तरसम्म स्थानीय तह छन् र तिनका लागि छुट्टै बजेट छ तथा यसमा थप प्रदेश र स्थानीय तहले पनि आफ्नो आन्तरिक स्रोत परिचालन गर्न पाउने व्यवस्था छ । यति हुँदाहुँदै अर्थमन्त्री सांसदको दबाबमा परेर रकम छुट्याउन बाध्य भए । यसको कारण हो, संसदबाट कार्यकारी प्रमुख बन्ने प्रथा अर्थात् संसदीय व्यवस्था ।


संसदलाई विधि निर्मातृ संस्थाका रूपमा सम्मानित गराउन, अन्य उपाय छैन, यसलाई कार्यकारिणीबाट अलग्याउनैपर्ने हुन्छ । त्यसो गर्नलाई कार्यकारी प्रमुखको निर्वाचन संसदबाट नभएर, राष्ट्रलाई एक समष्टि मान्दै सोझै जनताको प्रत्यक्ष मतबाट गरिनुपर्ने हुन्छ । यसरी जनताबाट प्रत्यक्ष रूपमा चुनिएको कार्यकारी प्रमुख सोझै जनताप्रति नै उत्तरदायी हुन्छ, संसद नियामक संस्थाका रूपमा रहन्छ । निश्चय नै यहाँ प्रश्न उठ्छ, राष्ट्रपति नै प्रत्यक्ष चुन्ने कि प्रधानमन्त्री ? यद्यपि दाहालले राष्ट्रपति नै भनेका किन नहुन्, यसबारे भने विशद् विमर्श, परामर्श आवश्यक हुन्छ । राष्ट्रपति अथवा प्रधानमन्त्री प्रत्यक्ष चुन्दाका सकारात्मक पक्ष के हुन् र नकारात्मक के हुन्, यसबारे सर्वेक्षण, अध्ययन र शोध–अनुसन्धान हुनुपर्छ ।


तर दुर्भाग्यवश, जब–जब पद्धतिमा गत्यात्मकताको विषयलाई बहस प्रारम्भ हुन्छ, नेपालमा लोकतन्त्रको मियो भनिने पार्टी अर्थात् कांग्रेस पूर्वाग्रही रूपमा प्रस्तुत हुन्छ । त्यसमा उसलाई अधिनायकवादको गन्ध आउँछ, सर्वस्व नै गुम्ला भन्ने डरले आक्रान्त हुन्छ । जबकि ऊसित आज बचेको हेर्नलायक भनेको जम्माजम्मी ललितपुर बल्खुस्थित केन्द्रीय कार्यालय हो । कांग्रेसलाई पद्धतिमाथि पुनर्विचार सम्बन्धी नयाँ प्रस्तावमा अधिनायकवादको गन्ध आउँछ । किनभने पद्धतिमा गत्यात्मकताको खोजी हुनथाल्दा देशका नवयुवक–युवतीहरूमा एउटा नयाँ तरंग आउँछ । त्यो तरंगले नवीन सम्भावनाका लागि मार्गप्रशस्त गर्छ, नयाँ नेतृत्व खोज्छ । यति कुरा कांग्रेसका अग्रपंक्तिका नेताहरूलाई राम्ररी थाहा छ, त्यो नयाँ तरंगका सामु उनीहरू टिक्न सक्दैनन्, फालिन्छन् । किनभने हरेक नयाँ परिस्थितिले नेतृत्व पनि नयै खोज्छ ।


निश्चय नै देशमा गणतन्त्र आएपछि यसले कांग्रेसमा नयाँ नेतृत्व खोजेको हो, तर आउन दिइएन । त्यसैले देशको नेतृत्व कम्युनिस्टहरूका हातमा पुग्यो । अन्यथा नलिनु होला, कांग्रेसको नेतृत्वसँग गणतन्त्र कसरी सञ्चालन गर्ने भन्ने ढंग थिएन । किनभने अवसर पाउँदा–पाउँदै पनि यसका नेता अग्रसरता लिन हच्केका थिए । आफैं हेर्नुहोस्, कति सुस्त छ कांग्रेस, देश संघीय भयो, निर्वाचनहरू सम्पन्न भइसके तैपनि अझै कांग्रेस भने जिल्ला र विकास क्षेत्र अवधारणामै परिक्रमा गरिरहेको छ । अवस्था के छ भने संविधान नयाँ, पद्धति नयाँ, तर कांग्रेस कहाँ ?


धेरै भयो, कांग्रेस आफैं बोल्दैन, कम्युनिस्ट बोलेपछि मात्र बोल्छ । जब–जब कुनै पनि कोणबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषय आउँछ, कांग्रेसको एउटा समूह त्यसलाई अधिनायकवाद भनेर कि पन्छाउन खोज्छ कि भने रुन–कराउन थाल्छ । तर यति विचार गर्दैन कि प्रत्यक्ष निर्वाचित राष्ट्रपति होस् अथवा कुनै पदलाई अधिनायकवाद भन्ने हो भने नगरपालिका, गाउँपालिका प्रमुखको निर्वाचनलाई पनि अधिनायकवादी भन्नुपर्ने हुन्छ । फ्रान्समा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन हुन्छ, यद्यपि त्यहाँको प्रणाली मिश्रित छ । संयुक्त राज्य अमेरिकामा निर्वाचन त प्रत्यक्ष हुन्छ, तर राष्ट्रपति डेलिगेट भोटबाट निर्वाचित हुन्छन् । श्रीलंकाका राष्ट्रपति प्रत्यक्ष मतद्वारा नै चुनिन्छन् । यी अधिनायकवादी व्यवस्था होइनन्, नत नेपालका स्थानीय तहहरू नै अधिनायकवादी हुन् ।


जनताको अभिमतबाट बनेका कुनै पनि आवधिक राजनीतिक संस्था अधिनायकवादी सिद्धान्तको अनुशरण गरेर बनेका हुँदैनन् । अधिनायकवाद प्रत्यक्ष निर्वाचित कार्यकारीबाट आउँछ नै भन्ने छैन, बरु नेपालका सन्दर्भमा, इतिहास साक्षी छ, अधिनायकवाद दुईपटक ०१७ र ०५९ सालमा संसदीय प्रथाकै गर्भबाट जन्मेको हो । यस्तो देख्दादेख्दै कांग्रेस जनताले आफ्नो आफैंले प्रत्यक्ष चुन्न पाउने प्रणालीलाई खुलेआम अधिनायकवादी भनिरहेको छ । तर के बुझिरहेको छैन भने यस्तो भन्नु लोकतन्त्रको मौलिकता, विशेषता विरुद्ध हुन्छ । तैपनि विचरा कम्युनिस्टहरू त्यसको यथोचित जवाफ दिन सकिरहेका छैनन् । दाहाल र उनका समर्थक प्रत्युत्तरमा बोल्न सक्दैनन् । किन सकिरहेका छैनन् र सक्दैनन् भने कम्युनिस्टहरूको प्रशिक्षणमा लोकतन्त्रको पाठ्यक्रम हुँदैन, थिएन र छैन । यसको आत्मतत्त्वसँग उनीहरूको साक्षात्कार भएको छैन ।

पाठक मञ्च

विश्वकप : जुवा, जर्सी र होहल्ला

- कान्तिपुर संवाददाता

बिहीबारबाट सुरु विश्वकप फुटबलले अहिले विश्वमै एकताको सन्देश दिएको छ । विश्वका उत्कृष्ट ३२ देशका राष्ट्रिय टिमहरू यो विश्वकपमा भिड्दैछन् भने आम विश्व समुदायमा दर्शकहरू खेलाडीको उत्कृष्ट प्रदर्शनमा बलले जाली चुम्ने दृश्यको प्रतीक्षामा अर्जुनदृष्टि लगाएर बसेका छन् । यो विश्वकप फुटबलको एउटै सन्देश भनेको जुनसुकै देश, जुनसुकै भाषाभाषी, जातजाति, विचार समूह जेसुकै भए पनि एउटै पर्दामा मिलेर एकताबद्ध भई विश्वकप हेर्नु नै हो । यस विश्वकपको महासंग्राममा करोडौं मानिस साक्षी बन्न चाहन्छन् र प्रत्यक्षदर्शीको रूपमा लाखौंले ताली बजाउनेछन् । जस्तोसुकै द्वन्द्वको अवस्थामा पनि खेलले मानिसलाई एकतामा बाँध्छ र आनन्दानुभूति दिलाउँछ भन्ने सन्देश यो खेलले दिनेछ । जुनसुकै देशको समर्थक भए पनि, जुनसुकै खेलाडीको फ्यान भए पनि, जुनसुकै जर्सीले सुहाउने भए पनि सबैको अर्जुनदृष्टि भनेको गोलपोष्टमा कुन–कुन देशका कुन–कुन खेलाडीले बललाई कसरी जाली चुमाउने
हुन् भन्नेमा नै छ । अनि गोल्डेन बुट विजेता खेलाडी को होला भनेर पनि आमदर्शक कौतुहलमा रहेका छन् । विश्वकप फुटबलले नेपाली फुटबल क्षेत्रका सबैलाई प्रेरणा प्रदान गर्न सकोस् ।
– नोदनाथ त्रिताल
चौबिसे गाउँपालिका–३, धनकुटा
***


फुटबलको विश्वकप सुरु भएको छ । यो सबै खेलप्रेमीका लागि खुसीको विषय हो । ४/४ वर्षमा एकपटक चल्ने यो १ महिने लामो कुम्भमेलाले खुसीका साथै केही दु:ख पनि ल्याउँछ । जित र हारको विषयमा आआफ्नो हैसियतलाई बिर्सेर बाजी लाउँदा यो कुम्भमेला कतिको लागि जीवन नै नर्क तुल्याउने दु:खदायी घटना बन्न पुग्छ । विश्व कपलाई केवल एउटा स्वस्थ खेलको रूपमा लिनुपर्छ, नकि जुवाघरको रूपमा । जोजसले यसलाई जुवाको रूपमा मनाउन खोज्छ, उसलाई प्रहरीले पक्राउ गरी कारबाही गर्न सक्नुपर्छ । अन्यथा कति परिवारको घरबास नै उठिबास हुन बेर लाग्दैन । ठूलठूला होटल, क्यासिनो घरहरूमा यस्तो बाजी लाउने होड नै चल्छ । जसमा हाम्रो सरकारले निगरानी राख्नुपर्छ । यसैगरी विश्वकप हेर्ने भनी टोल–टोलमा ठूलठूला प्रोजेक्टर राखी होहल्ला गर्दै हेर्ने विकृति पनि केही वर्षदेखि बढेको छ । कानुनले निषेध गरे पनि हुल्लडहरूले यस्तो गर्ने गरेका छन् । खेलभरि थाल ठट्टाउने, सिठी बजाउने गरी वरपरका बासिन्दालाई दिग्दार पार्ने गरेका छन् । यसले गर्दा रोगी, बुढापाका, विद्यार्थीहरूलाई निकै मर्का पर्ने गरेको छ । कसैले प्रहरीमा सिकायत गरेमा उसको घरमा ढुंगा हान्ने, सिसा फोड्ने विकृति पनि ४ वर्षअघि देखिएको थियो । यसर्थ होहल्ला गर्दै टोल–टोलमा सार्वजनिक ठाउँमा प्रोजेक्टर राखी विश्वकप हेर्ने कार्यलाई प्रहरीले बेलैमा नियन्त्रण गर्नुपर्छ । अन्यथा समर्थक–समर्थकबीच पनि झगडा भई ठूलो धनजनको नोक्सान हुनसक्छ ।


विश्वकपले रसियाको आर्थिक वृद्धिलाई बढाएको छ । तर हाम्रोजस्तो गरिब देशलाई भने घाटा पारेको छ । विश्वकप हेर्न भनी टिभी र प्रोजेक्टर किन्नमात्रै नेपालको करोडौं रुपैयाँ विदेशिएको छ । अनि जर्सीको व्यापार पनि ठूलै भएको छ । ती सबै जर्सी पनि विदेशबाटै आयात भएका हुन्, जुन १ महिनापछि रद्दीको टोकरीमा फालिनेछन् । जर्सी कटनको सट्टा नाइनलको हुनु अर्को नराम्रो पक्ष हो । जर्सीले पनि नेपालको लाखौं रुपैयाँ विदेशिएको छ । यसर्थ जुवा खेल्ने, जर्सी लाउने र टोल–टोलमा होहल्ला गरी खेल हेर्ने काम नगरी आआफ्नै घरमा शान्तिपूर्वक फुटबल हेरी कुम्भमेलालाई केवल मनोरञ्जनको माध्यम बनाऔं, नकि जुवाघर ।
– गोपाल देवकोटा
चावहिल, काठमाडौं

पाठक मञ्च

यस्तो पनि राज्य !

- कान्तिपुर संवाददाता

कृषिमन्त्री चक्रपाणि खनालले दूध डेरीको अनुगमनमा आफूले देखेका र महसुस गरेका पीडालाई यसरी व्यक्त गरेका छन्, ‘यस्तो पनि राज्य, देशै होइन जस्तो ।’ उनले अनुगमनका क्रममा हाम्रो बजारमा पाइने दूधमा न्युट्रलाइजरका रूपमा सोडियम बाइकार्बोनेट, सोडियम हाइड्रो अक्साइड र सोडियम कार्बोनेट गरी तीनवटै रसायनको मिसावट हुने गरेको फेला परेको बताएका छन् । किन व्यवसायीहरू यतिविघ्न संवेदनहीन बन्दै गइरहेका छन् ? किन निश्चित मुनाफाका लागि मानव स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् ? त्यसको उत्तर हरेक नेपालीको मनबाट एउटै आउँछ । सम्बन्धित निकायको लापरबाही र ती मुनाफामा सम्बन्धित निकायको साझेदारी । यिनै समस्याले आज नेपाली बजार आक्रान्त छन् । यिनै विषादीका कारण खुल्ला रूपमा सास लिन पनि कठिन बनेको छ । जताततै विषादी नै विषादी नियन्त्रण कसले गर्ने ? यस पटक मन्त्री आफै पुग्नुभएको छ र नजिकबाट महसुस गर्नुभएको छ । अब सम्बन्धित निकाय कसरी अगाडि बढ्छ, समयले बताउने नै छ ।
– रामकृष्ण बराल
जोरपाटी, काठमाडौं

पाठक मञ्च

दूधसित जोडिएको पीडा

- कान्तिपुर संवाददाता

हरेक दिन छोरीलाई दूध ल्याउन बिहान दूधडेरी जानु अगावै मेरो डेराअगाडि कान्तिपुर राष्ट्रिय दैनिक आइपुग्छ । सरसर्ती आधा घन्टा पत्रिका हेरेपछि छोरी उठ्छिन् । छोरीलाई दूध असाध्य मन पर्ने हँुदा म बिहान दूध लिन छोरीलाई पनि सँगै डेरी लैजान्छु । सदाझंै जेठ २५ गते बुधबार पनि मकहाँ बिहानै पत्रिका आइपुग्यो । हेडलाइन हेर्दा म छाँगाबाट खसेजस्तो भएँ, हेडलाइन थियो– ‘दूधमा सोडा ।’ अनि त्यहाँभित्र लेखिएको थियो, काठमाडौंभित्र ३० वटा दुग्ध प्रशोधन उद्योगका ४२ वटा ब्रान्डका दूध पाउचको नमुना केन्द्रीय प्रयोगशालामा जाँच गर्दा ४० वटामा न्युट्रलाइजरका रूपमा सोडियम बाइकार्बाेनेट, सोडियम हाइड्रो अक्साइड र सोडियम कार्बाेनेट तीनवटै रसायनको मिसावट हुने गरेको देखिएको छ । यो समाचार हेरेपछि म रनभुल्ल पर्दै बिस्तारामा सुतिरहेकी छोरीलाई शिरदेखि पाउसम्म हेरेँ, अनि मनमनै सोचेँ, ‘छोरी मैले तिमीलाई जानी–जानी पापी दूधडेरीका मालिकहरूले उत्पादन गरेको विषाक्त दूध खुवाइरहेको रहेछु । म सोझो अर्काको मजदुरी नगरी बिहान–बेलुकाको छाक टार्न नसक्नेलाई यी डेरीवालाहरू यतिबिघ्न पापी होलान् भन्ने के थाहा ? विष बेचेर पैसा कमाउनेहरू ऐसआरामको जीवन जिउँदैछन् । तर जीवन बेचेर जिउनेहरू पलपलमा मारिँदैछन् भन्ने मलाई के थाहा ? यति सोच्दै थिएँ । छोरी जुरुक्क उठी र बाबा दूध लिन जाऔं भनी । मैले ‘नानी, आज दूध आउँदैन । जुस खाने है’ भनेँ, तब छोरी डाँको छोडेर रुन थाली । जानी–जानी विष हालेको दूध के खुवाउनु भनेर अनेक तरहले छोरीलाई फकाएँ, जुस किनेर खुवाएँ । खाना खुवाउने बेलामा आपत् पर्‍यो, छोरीले दूधबिना खाना नै खान मानिन । सिर्फ २०० एमएल जुस र दुइटा चक्लेटको भरमा छोरीलाई स्कुल पठाएँ ।
– सन्तोष सिम्खडा
भीमसेन गाउँपालिका–२, गोर्खा

पाठक मञ्च

प्रधानमन्त्रीलाई प्रश्न

- कान्तिपुर संवाददाता

आदरणीय प्रधानमन्त्रीज्यू, कृपया झर्को नमानी मेरो प्रश्नको उत्तर दिनु होला ।
१. तपार्इंहरू गरिब देशका मन्त्री भएर जेजस्ता सेवासुविधा लिइरहनुभएको छ, के त्यो जायज छ ?
२. प्रत्येक सांसदको तलब २० हजार, भत्तासत्ता केही नपाउने व्यवस्था गर्दा के कम हुन्थ्यो र ? किनभने नेपालको औसत आय पनि छैन ।
३. एउटा आम नागरिकले १०–१५ हजार रुपैयाँ औसतमा कमाउँछ भने तिनै गरिब जनताले खुनपसिनाले तिरेको कर खाने त हुन्, सांसदले । तिनीहरूलाई २/३ लाखको सुविधा किन दिने ?
४. वडा अध्यक्षदेखि मन्त्रीहरूलाई दिएको सुविधा हेर्दा त देशको पैसाजति त तपाईंहरूको सेवासुविधामा नै
सकिएला जस्तो छ । अनि केले गर्नुहुन्छ त देश विकास ?
५. तपाईले मन्त्री, कर्मचारीलाई त महङ्गी भत्ता बढाउनुभयो, आम जनतालाई महङ्गी किन ?
६. बजार अनुगमन भन्दै साना व्यापारीलाई मात्र किन तर्साउनु हुन्छ ? ठूला आयातकर्ता र थोक व्यापारीलाई किन कहिल्यै कारबाही गरिन्न ?
– अनुराग खनाल
चितवन

पाठक मञ्च

नेपाली ऋणमा डुब्न चाहँदैन

- कान्तिपुर संवाददाता

बुधबार प्रकाशित पूर्व अर्थमन्त्री तथा अर्थविद रामशरण महतको ‘रेलमार्ग चर्चा र लगानी प्राथमिकता’ पढ्न पाइयो । विश्लेषण यथार्थपरक लाग्यो । कुनै पनि विकास योजना अरुको फाइदाका लागि नभई आफ्नो फाइदाका लागि हुनुपर्‍यो । नेपाल जस्तो सानो तर विविधता भएको मुलुकमा वातावरण, सभ्यता, संस्कृति आदिको सम्बद्र्धन साथै विकास पनि त्यसै अनुकूल भयो भने दिगो रहन्छ । ८–१० खर्ब खर्चेर केही सीमित क्षेत्रको मात्र हित हेर्दा त्यो बजेटबाट त हाल मुस्किलले चालु भएका र पूरा हुन नसकेका कैयौं योजना पूरा गर्न सकिन्छ । हो, मित्रराष्ट्रहरूले सौहार्दपूर्वक बिनासर्त अनुदानमा बनाइदिन्छन् भने सहस्र स्वीकारौं, तर ऋण लिएर लगानी गर्दा लगानी उठ्ने सम्भावना न्यून छ । हाम्रो मानसिकता अझै पनि आयात गर्नेमात्रै छ, त्यत्रा रेलका डिब्बामा के–के ल्याउने र के–के पठाउने ? कि रेल हप्तामा एकदिन चलाउनुपर्‍यो । देशभरका लिंकरोडहरू चौडा पार्नु, हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउनु, चीनसँग जोड्ने सडकमार्ग नै सिधा बनाउन सुरुङ र पुलको योजना बनाउनु यी कार्य गर्न थोरै ऋण र राष्ट्रिय बजेटबाट पनि सकिन्छ र फलदायी पनि हुन्छ ।
– केदारनाथ त्रिपाठी
बुढानीलकण्ठ, काठमाडौं

पाठक मञ्च

महिलाको महिलाद्वारै थिचोमिचो

- कान्तिपुर संवाददाता

जेठ ३० गते प्रकाशित डा. साधना प्रतीक्षाको ‘उत्पीडनका अनेक रूप’ पढ्ने मौका पाएँ । उहाँले महिलामाथि थिचोमिचो गरेको भनेर पुरुष र पितृसत्ताको दोहोलो काड्नुभएको रहेछ । म उहाँलाई सोध्न चाहन्छु कि २ दिनअघि दाङमा एउटी महिलालाई केही महिला मिलेर सार्वजनिक स्थानमा निर्वस्त्र पारेको दृश्य त टेलिभिजनमा तपाईले देख्नुभएकै होला ? के त्यहाँ कुनै पुरुष छन् ? बरु पुरुषहरूले ती पीडित महिलालाई बचाउन गएका छन् र प्रहरीलाई खबर गरेका छन् । म अझै तपाईलाई अनुरोध गर्छु कि तपाईकै लेख छापिएको पत्रिकाको अन्तिम पानामा भएको पाकिस्तानी फिल्म मेकर तजिन बारीको भनाइ पनि एकपटक अवश्य पढ्नु होला है ।
– विजयकुमार शाही
लाजिम्पाट–२, काठमाडौं

पाठक मञ्च

प्रधानन्यायाधीशसँग अपेक्षा

- कान्तिपुर संवाददाता

संवैधानिक परिषदले कामु प्रधान न्यायाधीश दिपकराज जोशीलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ । अब संसदीय सुनुवाइको सनातनी अभ्यासपछि राष्ट्रपतिबाट नियुक्तको काम पूरा हुनेछ । मुलुकको ३ प्रमुख अंगमध्ये एक, अझ ती बाँकी दुईले बाटो बिराउँदा सजग गराउने वा यस्तो हो है वा हुनुपर्छ भनी मार्गनिर्देशन दिने निकाय भनेकै अदालत अथवा सर्वोच्च अदालत हो । यसको आफ्नै गौरवमय इतिहास छ । पदमा रहँदा खासै केही नगर्ने तर बाहिरिएपछि चर्का जवाफदेहितामा बहस गर्ने पनि छन् । अदालतमा केही राजनीतिक गन्ध घुसेको पक्कै हो । यो कसरी प्रवेश भयो भन्नुअघि न्यायपरिषदको पुनर्गठित संरचनालाई हेर्न आवश्यक छ । एकातिर प्रधान न्यायाधीश र वरिष्ठ न्यायाधीश अनि अर्कोतिर कानुनमन्त्री, प्रधानमन्त्रीले तोकेको कानुनका व्यक्ति र दलीय छायामा बन्ने बार एसोसिएसनको प्रतिनिधित्वले गर्दा नै दलीय भागबन्डा र राजनीतिले प्रश्रय पाएको हो । यसको उपयुक्त निकास तथा निर्विवाद व्यवस्थापनमा यहाँको पहिलो ध्यान पुगोस् ।


दोस्रो, आम जनताले सधंै अपेक्षा गर्ने भनेको छितोछरितो न्याय हो । मुलुक संघीयतामा गइसकेको र स्थानीय तहका उपप्रमुखले समेत अर्धन्यायिक काम गर्ने भएकोले अब सानातिना मुद्दामामिला तल्लो तहमै निराकरण हुनसक्छ । ज्यान मुद्दा वा जघन्य अपराध तथा ठूलठूला भ्रष्टाचारका मुद्दा बढी संवेदनशील हुने हो । अहिले सुनकाण्डमा प्रतिवादीहरू अदालतमा मुद्दा दर्ता हुने देखिनासाथ फरार हुने र अन्तिममा आत्मसमर्पण गर्ने अभ्यास देखियो । यसले अनुसन्धान प्रभावित हुने सम्भावना हुन्छ । जन्मकैद सजाय सुनाइएका बालकृष्ण ढुंगेल आममाफीले छुट्दै गर्दा अर्का अभियुक्त ठहरिएका रेशम चौधरीको दलले सरकारमा सहभागी हुन पहिलो सर्त नै उनको सपथ भनेका छन् । यसरी अदालतले अभियुक्त ठहर गर्ने र सरकारले चोख्याउँदै जाने हो भने न्यायिक फैसलाको के अर्थ हुन्छ ? यस विरुद्ध पदीय गरिमा र संस्थाको सर्वोच्चताको महिमा जोगाउन निडर र निर्भीकताका साथ अगाडि बढ्नु होला ।


तेस्रो, मैले बुझे अनुसार कुनै पनि सवारी साधनमा नेपालको कानुन अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा प्रधान न्यायाधीश ५ जनालाई मात्र कालो सिसा राख्ने छुट छ, राष्ट्रियसभाका अध्यक्षलाईसम्म छ जस्तो लागेन । अधिकांशले कुन कानुनको आधारमा कालो सिसा राखेर अपारदर्शी भएर हिँड्न लालायित छन् ? कानुनी राज्यको उदाहरण यसले पनि देखाउँदैन र ? यसको तत्काल देखिने आदेश होस् ।
– श्रीकृष्ण राजवंशी
सुनकोसी–३, सिन्धुली

पाठक मञ्च

मान्छे मार्ने टिपर

- कान्तिपुर संवाददाता

‘रोकिएन टिपर आतंक’ समाचार पढेपछि निश्चय नै टिपरको ज्यादतीबारे सबै पाठकलाई लागेको हुनुपर्छ कि किन यस्ता गैरजिम्मेवार बनेर टिपर चलाइन्छन् र किन विशेष गरी टिपरलाई ठेगान लगाउनेगरी राज्यबाट कडा कारबाहीको दायरामा ल्याउन हिच्किचाइन्छ भनेर । हालैको जडीबुटी नजिकै स्कुटीबाहकको किचाइ होस् वा जेठ दोस्रो साता नलिञ्चोकमा ३ जनालाई एकै घान पारेर किचिएको डरलाग्दो घटना किन नहोस्, जघन्य र हिंसात्मक र निन्दनीय छन् । टिपरहरू बेलगाम भएर सडकमा निर्विघ्न कुदेको देख्दा लाग्छ, यिनीहरू छाडिएका बहुलाएका छाडा निकुञ्जका हात्ती हुन्, जसलाई न डर छ, न यात्रु र साना सवारीहरूको माया छ, न आफ्नो अन्नदाता साधनको मायाको अलिकति पर्वाह छ । कानुनकै उपहास गर्दै आफ्ना सवारी साधनको पर्वाह नगरी जबर्जस्ती भिडमा पसेर अन्धधुन्द चलाइने टिपरका यी दुई घटना प्रतिनिधि घटना मात्रै भए पनि एकाध वर्षदेखिका तथ्य केलाउने हो भने धेरै छन् । टिपर होस् वा महिन्द्र निसानको मिनिटाटा वा माइक्रोको ज्यादती यति धेरै छ कि बयान गरी साध्यै छैन । यस्तो लाग्छ, टिपरले मानिसको निर्मम हत्या गर्नका लागि मात्रै चलाउने अनुमति पाएका हुन् । उमेर नपुगेका आलाकाँचा
लाग्ने चालकहरू पनि यसको कारण मान्न सकिन्छ ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौं
***


किन आजभोलि टिपरले किचेर मानिस मारिरहेका छन् ? किनभने जनताले हत्यारा टिपरका चालकलाई गाडीमा थुनेर पन्जाब हाइवेमा जस्तै आगो लगाउंँदैनन् ? तर स्थिति बदलिन थालेको छ । जनता बहुलाउन थालेका छन् । तर ३० जेठमा भने जडीबुटीमा टिपरमा आगो लगाएको लाइभ विश्वभर भाइरल भएको छ । चालक बेपत्ता भएकाले बच्यो । तर अब देशभरका जनताले आपंैm न्याय गर्ने मनस्थिति देखाएका छन् । जडीबुटीमा कोटेश्वरतिरै गइरहेको स्कुटीमा त्यो जाम हुने रातो बत्तीको इलाकामा उही दिशातर्फ गएको टिपरले मर्ने हदमा ठोक्नुको अर्थ टिपरको तीव्र गति र क्रस ओभरटेक गर्न खोजेको प्रस्ट छ । एक महिनाअघि नवलपरासी र अस्ति भर्खर जेठ ६ गते गोंगबुमा पनि यसरी नै मारेको थियो, टिपरले । भोलिपल्ट बिहान ६ बजे खुला सडकमा म लोकन्थलीबाट ४० को स्पिडमा जडीबुटी जाँंदै थिएँं । पछाडिबाट स्पिडमा आइरहेको बालुवा लोडेड टिपरले हर्न बजाएर कारलाई ओभरटेक गर्न खोज्यो । अघिल्लो दिनको खबरले विचलित मैले बाटो छोडिनँ, पचासमा गएँं, हर्न बजाई ठोक्न खोज्यो, फेरि ६० अनि ६५ गर्दा पनि त्यो घट्ने हैन, बरु मलाई मारेरै बढ्ने मुडमा देखेपछि मैले साइड दिएँं । जेटजस्तै टिपर उडेर गयो । १०० मिटर पर म जडीबुटी पुग्दा टिपर खाली सडकमा कोटेश्वर पुगिसकेको थियो । न मनहराको पुलिस, न जडीबुटीको, न कोटेश्वरको पुलिस कसैले ती भीभीआईपी सवारीलाई रोक्न खोजे । मेरो परीक्षणले प्रमाणित गरेको छ कि अत्यधिक स्पिड, थोत्रो टिपर, लोडेड, कसैको डर नभएको, मान्छे मारे पनि जेल जान नपर्ने, सिन्डिकेट र इन्सुरेन्सले तिर्ने, लाइसेन्स रद्द नहुने, गाडी लिलाम नहुने
आदि कारण हुन् ।
– राजेन्द्र थापा
लोकन्थली, भक्तपुर

Page 7
विविधा

बेइजिङसँगका विभ्रम

चीनसँगको सम्बन्धलाई लिएर नेपालमा यथार्थभन्दा पर गएर सोच्ने र अवास्तविक अपेक्षाहरू राख्ने प्रवृत्ति बढ्दो छ ।
- सुधीर शर्मा
नेपाल र चीनका प्रधानमन्त्रीद्वय बीपी कोइराला र चाउ एनलाई २८ अप्रिल १९६० मा शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गर्दै

चीनले ल्हासाबाट तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेसम्म रेलमार्ग भर्खरै जोडेको थियो । सहकर्मी सम्पादक अखिलेश उपाध्याय र म त्यही रेलमा यात्रा गर्दै थियौं । ल्हासा र सिगात्सेमा मान्छेहरू कम, रेलवे स्टेसनचाहिंँ किन त्यति भीमकाय बनाएको होला भन्ने लागिरहेको थियो, बाटोमा अन्य स्टेसनहरू पनि उस्तै बडेमानका देखिए । अनि रेलको लिक पनि ठूलठूला पहाडहरू खोपेर निकै ठूलो लगानी गरेर बनाए जस्तो देखियो ।


यति उजाड ठाउँमा यति ठूला पूर्वाधार किन बनाएको होला ? त्यो देख्दा जोकोहीको मनमा यस्तो प्रश्न उठ्छ । ‘यो हामीले भविष्यलाई हेरेर बनाएको हो,’ सँगै रहेका एक चिनियाँ अधिकारीले सांकेतिक जवाफ दिए, ‘अनि यो भविष्य तपाईहरूसँग पनि जोडिएको छ ।’


सिगात्सेसम्म आएको त्यो रेललाई चीनले रसुवामाथिको केरुङसम्म ल्याउने भनेको छ । अनि त्यहाँबाट त्यसलाई काठमाडौंसँग जोड्ने प्राविधिक लेखाजोखा भइरहेको छ । सायद त्यसैले त्यसलाई नेपालको ‘भविष्य’सँग पनि जोड्न खोजिएको होला । तर त्यो हाम्रानिम्ति साँच्चै परिणामदायी हुन्छ या त्यसलाई लिएर हामीले अनावश्यक अपेक्षामात्र गरिरहेको हो ?
वास्तवमा नेपालमा चिनियाँ रेललाई लिएर यति धेरै अपेक्षा गरिँदैछ कि मानौं त्यो कुनै यातायात पूर्वाधार नभई ‘जादुको छडी’ हो । यस्तो छडी– जो घुमाउनासाथ समृद्धिको चटके सपना पूरा भइहाल्छ । वास्तवमा चीनसँगको समग्र सम्बन्धलाई लिएरै हामीकहाँ थुप्रै भ्रमहरू छन् । यस्ता भ्रम– जो वास्तविकताभन्दा कहिलेकाहीं कोशौं टाढा हुन्छन् । जस्तो कि :


- चीनले हामीलाई आँखा चिम्लेर सहयोग दिन्छ, रेल बनाइदिन्छ, बिजुली निकालिदिन्छ, विकास गरिदिन्छ र हामीले आफू केही नगरी समृद्धि हासिल भइहाल्छ । यो अति–अपेक्षा हाम्रो पहिलो भ्रम हो ।


- दोस्रो, हामीले चीनलाई सदैव भारतको प्रतिस्पर्धीका रूपमा मात्र लिन्छौं । केही पर्दा भारत विरुद्ध चीनले सघाइहाल्छ भन्ठान्छौं । यो अर्को अति बुझाइ हो ।


- तेस्रो, हामीलाई चीन चाहिएको हो कि चीनलाई हामी ?


पहिलो मुद्दाबाटै कुरा थालौं । ‘सफ्ट पावर’का दृष्टिले नेपालमा चीनको सबभन्दा ठूलो सम्पत्ति भनेकै नेपाली मनमा उसले पाएको सद्भाव हो । दक्षिणपूर्वी एसियाका थुप्रै मुलुकमा उसलाई यो सुविधा उपलव्ध छैन । त्यहाँ उसको छवि ठिक त्यस्तै नकारात्मक छ, जस्तो हामीकहाँ भारतको छ । तर नेपालमा भारतले झैं सूक्ष्म व्यवस्थापनको शैली अख्तियार नगरेकाले हुनसक्छ, चीनप्रति अधिकांश नेपालीको हेराई हालसम्म सकारात्मक छ ।


यसको श्रेय चिनियाँ आर्थिक साम्राज्यका ‘आर्किटेक्ट’ देङ सियाओ पिङलाई जान्छ, जसले प्रख्यात ‘२४–अक्षरे रणनीति’मा आफ्नो क्षमता लुकाउन र ‘लो प्रोफाइल’मै बसेर प्रगति गरिरहन सिकाएका थिए । तर सन् २००८ यता चीनले त्यो मन्त्रलाई थन्काएको छ । सक्रिय विदेश नीति अख्तियार गरेको छ । नेपालकै सन्दर्भमा पनि अहस्तक्षेपको ‘नन–इन्टरफेरेन्स पोलिसी’ बद्लिएको छ । त्यसको ठाउँ ‘कन्स्ट्रक्टिभ इन्गेजमेन्ट पोलिसी’ले लिएको छ, जस अन्तर्गत उसले नेपाली आन्तरिक मामिलामा समेत चासो राख्न र राय–सल्लाह दिन थालेको छ ।


सन् २०१३ मा सी चिनफिङले सत्ता सम्हालेपछि त चीनको काम गर्ने तौर–तरिकामा आकाश–जमिनको अन्तर आएको छ । उनले आफ्ना भाषणहरूमा बारम्बार ‘पाँच हजार वर्षभन्दा पुरानो इतिहास भएको चिनियाँ सभ्यता’को पुनरुत्थान गर्ने भन्छन्– ‘पहिले पनि चीनले विश्वको अगुवाइ गरेको थियो, अब फेरि गर्छांै’ भन्ने शैलीमा ।
राष्ट्रपति सीको छिमेक–नीतिको छनक उनका सम्बोधन र दस्तावेजहरू संग्रहित दुई भागको ‘गभर्नेन्स अफ चाइना’ पुस्तकमा पाइन्छ । त्यसको पहिलो भाग (पृष्ठ ३२५–२९) मा लेखिएको छ, ‘छिमेकी देशहरूसँग चीनको कूटनीतिको आधारभूत नीति भनेको उनीहरूलाई मित्र र साझेदारका रूपमा व्यवहार गर्ने, उनीहरूलाई सुरक्षित रहेको महसुस गर्न लगाउने र उनीहरूको विकासलाई सहयोग गर्ने हो ।’


चीनले यसको बदलामा आफूले पनि केही चाहेको छ । जस्तो कि सीले लेखेका छन्, ‘प्रत्युत्तरमा हामी के आशा गर्छौं भने छिमेकी देशहरूले हामीप्रति राम्ररी झुकाव राख्नेछन् र चीनले उनीहरूसँग बलियो सान्निध्य राख्नेछ । साथै हामीप्रति आकर्षण बढ्नेछ र हाम्रो प्रभावमा अभिवृद्धि हुनेछ ।’


विश्वको पहिलो शक्ति बन्ने महत्त्वाकांक्षाका साथ अगाडि बढिरहेको राष्ट्रले प्रभाव विस्तारको प्रयास नगर्ने भन्ने हुँदैहुन्न, चाहे त्यो नेपालमा होस् या न्युजिल्यान्डमा । चीन सरकारले आफ्नो राजनीतिक–कूटनीतिक– सामरिक प्रभाव बढाउन खोजेको छ नै, जसरी उसका लगानीकर्ता र व्यापारिक कम्पनीहरूले मुनाफा बढाउन चाहेका छन् ।


यो सबै बुझेर हामीले चीनसँग कुन–कुन क्षेत्रमा के–कस्तो सहकार्य गर्न खोजेको हो, त्यसबारे दिगो नीति/रणनीति बनाउनुपर्ने देखिन्छ । खासगरी चीनले सद्भावमात्र राख्छ, कुनै स्वार्थ छैन भन्ने भ्रमबाट हामी जतिसक्दो चाँडो मुक्त हुन सक्नुपर्छ । ऊ प्रभाव विस्तारको स्वार्थ बोकेरै आउने हो, त्यसबाट हाम्रो राष्ट्रिय हित कुण्ठित नहोस् भन्नेमा चनाखो हुनुपर्ने दायित्व हाम्रै हो ।


हाम्रो सन्दर्भमा चीनसँग निकट भविष्यमा हुनसक्ने एउटा ठूलो सम्झौता भनेको सुरुमा उल्लेख गरिएको रेलमार्गका सन्दर्भमा हो । चीनले आफ्नो मुख्य भूमिबाट ल्हासा र सिगात्सेसम्म रेल जोडेपछि तिब्बती जनजीवनमा ठूलै कायापलट आइसकेको छ । त्यसलाई अब केरुङसम्म ल्याउने, काठमाडौं झार्ने र यहाँबाट तराईतिर ओरालो लाग्दै भारतीय भूमिसम्म जोड्ने हो भने त्यसले दक्षिण एसियाको भूआर्थिक र भूराजनीतिक दुवै पाटोमा विशाल बद्लाव ल्याउनेछ । तर चिनियाँ रेल नेपाल हुँदै भारतीय बजारसम्म पुग्दा नेपालले चाहिंँ के फाइदा पाउँछ ? कसरी आफूलाई ‘ट्रान्जिट’ मुलुक बनाउन सक्छ ? यसतर्फ विज्ञहरूको अध्ययन आवश्यक छ ।


चिनियाँ रेलवे विभागले सिगात्से–केरुङ रेलमार्ग सन् २०२० भित्र बनाइसक्ने घोषणा गरेको थियो । तर वास्तविकता के हो भने त्यसको निर्माण अझै सुरु गरिएको छैन । नेपालले केरुङ–काठमाडांै र सम्भवत: काठमाडौं–भारतसम्म रेल जोड्ने निधो गरेपश्चात मात्र चिनियाँहरूले त्यो थाल्ने जस्तो देखिन्छ । जानकारहरूका भनाइमा सिगात्से–केरुङ खण्ड बन्न नै अब कम्तीमा पाँच वर्ष लाग्छ भने केरुङ–काठमाडौंलाई त झन्डै एक दशक नै लाग्ला, कुनै बाधा–व्यवधान खडा नभएको खण्डमा । अर्थात् यो नेताहरूको भाषणमा सुनिए जस्तो केही महिना या वर्षमै बन्ने/बनाइने कुरा होइन ।


केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन भर्खरैमात्र सुरु भएको छ । अब यसको प्राविधिक/आर्थिक योजना तय गर्दा नेपालले आफूलाई कसरी लाभ मिल्छ, त्यसमा ध्यान दिनुपर्छ । खासगरी रेलको खाँचो हामीलाई भन्दा बढी चीनलाई भएको हुँदा सकभर यसलाई अनुदानमा बनाउने, ऋण नै लिनुपर्दा सहुलियतपूर्ण मोडल खोज्नुपर्ने खाँचो छ ।
विश्व अर्थतन्त्रको इपिसेन्टर बनेको चीनसँगको आर्थिक साझेदारीबाट सारा संसारले लाभ लिइरहेको छ भने साँधमै रहेको नेपाल निरपेक्ष बसिरहने कुरा आउँदैन । तर सवाल यतिमात्रै हो, आर्थिक उपनिवेश बन्ने खतराचाहिंँ नआओस्् । कतिपयले नेपालको चीनसँग सहकार्य नहोस् भन्ने उद्देश्य राखेर आर्थिक जोखिमको हाउगुजी मात्र देखाउने गरेका छन् । चीनसँग ढंग पुर्‍याएर सहकार्य गर्न नसक्दा कतिपय मुलुक ‘डेब्ट ट्रयाप’मा फँसेका दृष्टान्त पनि छन् । यस्तो जोखिम त जुनसुकै शक्तिराष्ट्रसँग ‘डिल’ गर्दा पनि हुनसक्छ । त्यसबाट बच्दै राष्ट्र हितका पक्षमा निर्णय लिन नै कूटनीतिक कौशल चाहिने हो ।


कूटनीतिक कौशलको माग यहाँको जटिल भूराजनीतिले पनि गर्छ । किनभने नेपाल–चीन सम्बन्धमा प्राय: भारत आइहाल्छ । नेपालले चीनसँग सम्बन्ध बढाउन खोज्दा भारतको कान ठाडो भइहाल्छ । चीनले पनि नेपाललाई भारतसँगको सहकार्यको माध्यम बनाउन चाहन्छ । त्यसैले पछिल्ला वर्षहरूमा चीन–नेपाल–भारत (सीएनआई) साझेदारीको विमर्श चल्न थालेको छ ।


भारत–चीनबीच प्रतिस्पर्धा र साझेदारीको दुईधारे सम्बन्ध रहँदै आएको छ । त्यो कहिले चर्कन्छ, कहिले हार्दिकतामा बद्लिन्छ । भारतमा आफ्ना पुराना मित्र मोदी सत्तामा आएपछि चिनियाँहरूको अपेक्षा निकै थियो । तर मोदी सरकार अमेरिकी ध्रुवतिर ढल्किदियो, चिनियाँहरूको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को आलोचना गर्‍यो र तिब्बती कार्डसमेत खेल्न थाल्यो । उता चीनले पाकिस्तानमा कश्मिरको विवादित भूमि हुँदै जाने ‘सिपेक’ कोरिडोर खोलिदियो, न्युक्लियर सप्लाइ ग्रुपको सदस्य बन्ने र मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने भारतीय प्रयासलाई राष्ट्र संघमा रोकिदियो । त्यो सबैको उत्कर्ष थियो– गत वर्षको डोक्लाम विस्फोट । अन्तत: सीमा–झडपको त्यो तनाव मत्थर पारेर अहिले फेरि उनीहरू मधुमासको चरणमा फर्केका छन् ।


कतिसम्म भने सी र मोदीबीच सन् २०१४ यता भेटघाट नै १४ पटक भइसकेको छ । यता काठमाडौंको ठूलो जमातचाहिंँ चीनले भारतलाई सदैव दुश्मनका रूपमा मात्र हेर्छ भन्ठान्छ । नेपालमा चीन भारतसँग भिड्नै आउँछ भन्ने हदको टिप्पणीसमेत सुनिन्छ । निश्चय पनि चीन नेपाल लगायत दक्षिण एसियाभरि पस्न खोज्दैछ । सबैतिर आफ्नो उपस्थिति बढाउन लागिपरेको छ । तर त्यसका लागि भारतलाई चिढ्याउने या उससँग कुनै किसिमको द्वन्द्वमा अल्झने मनसाय देखिन्न । यथार्थमा चीनले भारतलाई प्रतिस्पर्धीभन्दा बढी सहयात्री बनाउन चाहेजस्तो देखिन्छ । किनभने उसको लक्ष्य भारतभन्दा धेरै पर अमेरिकालाई उछिनेर विश्वको पहिलो शक्ति बन्ने हो । त्यसैले भारतलाई आआफ्नो शिविरतर्फ तान्न चीन र अमेरिकाबीच होडबाजी जारी छ ।


भारतलाई भने चीनसँग आफ्नो सम्बन्ध बिगँ्रदा या सुधँ्रदा– कुनै पनि अवस्थामा नेपाल या अन्य दक्षिण एसियाली मुलुकहरूमा चिनियाँ आगमन स्वीकार्य छ्रैन । उसले बलबुताले भ्याएसम्म चीनलाई रोक्न खोजिरहेकै छ । तर आर्थिक तागत यति शक्तिशाली हुँदोरहेछ कि आफ्नै देशमा समेत उसको प्रयास सफल हुन सकिरहेको छैन । सम्भवत: यो परिस्थिति एवं भारतको आफ्नै आवश्यकताका कारणले समेत आगामी दिनमा बेइजिङ–दिल्ली साझेदारी अरु गाढा हुनसक्छ । त्यस्तो अवस्थामा नेपाल विशेष रूपमा चनाखो हुनुपर्ने हुन्छ । यसअघि भारतसँग सम्बन्ध सुधिँ्रदा चीनले लिपुलेकलाई दुईपटक बिर्सिदिएको थियो । लिपुलेक, कालापानी क्षेत्रको भारतीय अतिक्रमणलाई मतलव नगर्दै त्यसलाई द्विदेशीय व्यापारिक नाका बनाउन चीनले सहमति जनाएको थियो । भारत–चीनमाझ ‘हनिमुन’ गाढा हुँदै जाँदा यस्ता अन्य संवेदनशीलतालाई बेवास्ता गर्ने परिस्थिति फेरि दोहोरिन सक्छ ।


यस्तो अवस्थामा चनाखो बस्न र कूटनीतिक सक्रियता बढाउनु बाहेक नेपालसँग खासै उपाय छैन । तर उनीहरूको समझदारी आफ्नो हितमा उपयोग हुन्छ कि त्यसतर्फ भने निरन्तर प्रयास जारी रहनुपर्छ । सामान्यत: भारतले चीनसँग नेपालको घनिष्टता बढेको रुचाउँदैन । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मा चीनसँग शान्ति तथा मैत्री सन्धि गर्दा पनि भारत असन्तुष्ट थियो नै । त्यसपछि राजा महेन्द्रले कोदारी नाका खोल्दा दिल्लीबाट नेहरूले नै विरोध गरेकै हुन् । पछिल्लो नाकाबन्दीका बेला प्रधानमन्त्री ओलीले पारवहन तथा यातायात सम्झौता गर्दा होस् वा त्यसपछिका प्रधानमन्त्री पुष्पकमल दाहालले बीआरआईको सदस्यता लिंँदा–भारत खुसी थिएन ।


नेपाली नेतृत्वले चाहेको खण्डमा अरुको विरोध वा असन्तुष्टिले छेक्दो रहेनछ भन्ने यी दृष्टान्तहरूले देखाएका छन् । अहिले त प्रधानमन्त्री ओलीलाई थप सहुलियत प्राप्त छ । एकातिर भारत–चीन सम्बन्ध सुध्रिएको छ, अर्कोतिर उनी स्वयंले पनि भारतसँग नयाँ शिराबाट विश्वास स्थापित गरेका छन् । आन्तरिक रूपमा पनि मजबुत र दिगो सरकारको नेतृत्व गरेका छन् । यस्तो अवस्थामा ओलीले चीनसँग रेलमार्ग, ऊर्जा या अन्य दूरगामी सम्झौताहरू गर्दा बाह्य अवरोध आउने अवस्था पनि देखिन्न । कम्तीमा एक वर्षपछि हुने लोकसभा निर्वाचनपूर्व मोदी सरकार छरछिमेकको आन्तरिक मामिलामा हात हालेर थप बदनाम हुन र आफ्नो निर्वाचन आधार खलबल्याउन चाहन्न । नेपालले एक–डेढ वर्षको यो अवधिलाई कूटनीतिक अवसरका रूपमा उपयोग गर्न सक्छ ।


खासगरी रेल सञ्जाल र ऊर्जाका क्षेत्रमा नेपाल–भारत–चीनबीच त्रिपक्षीय साझेदारीको आफ्नो पूर्व प्रस्तावलाई पनि नेपालले नयाँ ढंगबाट अगाडि बढाउन सक्छ । आखिर चीन र भारतबीच नेपाल हुँदै रेलमार्ग जोड्न होस् या नेपालमा उत्पादित जलविद्युतका निम्ति भारतीय बजार पहिल्याउन– यी तीन देशबीच न्यूनतम समझदारी चाहिने नै हुन्छ ।


अन्त्यमा, एउटा प्रश्न– चीनलाई हामी चाहिएको हो कि हामीलाई चीन ? दुवैलाई दुवै चाहिएको छ । तर हामीलाई चीन जति चाहिएको छ, चीनलाई नेपालको खाँचो उत्तिकै बढ्दै गएको छ ।


हाम्रो हकमा, भारत निर्भरता घटाउन उत्तरी ढोकाहरू खोल्न आवश्यक देखिएको हो । खासगरी पछिल्लो नाकाबन्दीका बेला चिनियाँ नाकाहरूको महत्त्व ह्वात्तै महसुस भयो । अर्कोचाहिंँ मुलुकको विकासका लागि चिनियाँ आर्थिक लगानी आकर्षित गर्नुका साथै उससँग रेल, सडक लगायतका ‘कनेक्टिभिटी’ बढाउनुपर्ने आवश्यकता देखियो ।


चीनका निम्तिचाहिंँ नेपालको महत्त्व दुइटा कारणले छ । एउटा, परम्परागत दृष्टिले तिब्बतको सुरक्षा सुनिश्चित गर्नका लागि । अर्को, भारतीय बजारसम्म सहज पहुँचका निम्ति । उत्तर प्रदेश, विहार, पश्चिम बंगालजस्ता ४० करोडभन्दा बढीको भर्भराउँदो भारतीय बजारमा आफ्नो पहुँच बढाउन चीनका निम्ति नेपाली नाकाभन्दा सहज अन्यत्र देखिन्न ।


नेपालतर्फका नाकाहरू यातायात सञ्चालनका दृष्टिले जति सहज छन्, भारत या भूटानसँगको सीमामा चीनलाई यस किसिमको सुविधा उपलव्ध छैन । सिक्किमतर्फको नाथुला नाका साँघुरो र सुरक्षा दृष्टिले संवेदनशीलसमेत छ भने हिमाञ्चलतर्फको बाटो पनि कोदारी या केरुङजस्तो सजिलो छैन । भूटानसँग चीनको औपचारिक सम्बन्ध कायम नभएको, त्यहाँ भारतीय सैन्य उपस्थितिसमेत रहेको, केहीअघि त्यहीं डोक्लाम विवादसमेत उब्जिएको कारण भूटान–चीन सहकार्य तत्काल सम्भव देखिन्न । त्यसैले चीन–भारत कनेक्टिभिटी नेपालमार्फत जति सजिलो हुन्छ, अन्यत्रबाट त्यसको सम्भावना छैन । आखिर इतिहासमा पनि नेपालले तिब्बत र भारतबीच ट्रान्जिट रुटको भूमिका खेलेकै हो ।


नेपाललाई चीन जति चाहिएको छ, चीनलाई नेपालको खाँचो उत्तिकै छ । प्रधानमन्त्री ओलीले बेइजिङमा वार्ता गर्दा यो वास्तविकतालाई बिर्सनु हुन्न ।

विविधा

असमावेशी दल

संविधानले राज्यका निकायहरूमा तोकेरै महिलाको सहभागिता सुनिश्चित गरेको छ । तर दलहरूले यसलाई पूर्ण रूपमा स्वीकार गर्नसकेका छैनन् ।
- राधिका ढकाल

नेपालमा महिला समावेशीको संवैधानिक व्यवस्थाको इतिहास धेरै लामो छैन । ३० वर्षे पञ्चायती व्यवस्थामा महिला समावेशीकरणको मुद्दा नत चर्चामा थियो, न नीतिगत व्यवस्था नै । २०४७ सालको प्रजातन्त्रको पुन:स्थापनासँगै यो विषयले राजनीतिमा सुषुप्त प्रवेश त पायो, तर पनि राष्ट्रिय एजेन्डा भने बन्न सकेन । विशेषत: संवैधानिक तथा कानुनी संरचनाको अभावमा यो विषय ओझेलमा पर्‍यो । समावेशीको पक्षमा पर्याप्त जनचेतना पनि थिएन ।


२०६२/६३ सालको दोस्रो जनआन्दोलनको समय र गणतन्त्रको स्थापनासँंगै समावेशिताको विषयले निकै महत्त्व पायो । अर्थात् समावेशी प्रजातन्त्रको एजेन्डा स्थापित भयो । त्यससंँगै २०६४ माघमा घोषणा भएको अन्तरिम संविधानले पहिलोपटक राज्यका प्रत्येक निकायमा ३३ प्रतिशत महिला सहभागिताको बाध्यात्मक स्थिति सिर्जना गर्‍यो । त्यही संवैधानिक व्यवस्थाको जगमा निजामती प्रशासन, सेना र प्रहरी लगायतका निकायमा समावेशीकरणको सुरुवात भयो । राजनीतिक दल तथा राज्यका निकायहरूमा संख्यात्मक सहभागिताको हिसाबले आकाश–जमिनको फरक छ, तर त्यो पर्याप्तचाहिँ छैन ।


हरेक क्षेत्रमा महिला सहभागिता बढेको छ । यो सकारात्मक पक्ष हो । पहिलो संविधानसभाको निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार नै ३३ प्रतिशत महिलाको सहभागिता रहेको थियो । तर दोस्रो संविधानसभा महिलाको प्रतिनिधित्व ३३ बाट ३० प्रतिशतमा झरेको थियो । महिला प्रतिनिधित्वको विषय संविधानमै किटेर राखिएको कारण स्थानीय तहमा महिला प्रतिनिधित्व उत्साहजनक छ । ७ सय ५३ स्थानीय तहको अधिकांश नगरपालिका तथा गाउँपालिका उपप्रमुख महिला छन् भने वडामा एकजना दलित महिला र एक अन्य महिला सदस्य अनिवार्य गरिएको छ ।


प्रतिनिधिसभा निर्वाचनमा भने महिला सहभागिताको विषय लगभग निराशाजनक नै रह्यो । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत दलहरूले महिला उम्मेदवारको संख्या एकदमै न्यून चयन गरे । यसकारण प्रत्यक्ष निर्वाचनमार्फत चुनिने महिला जम्मा ७ जनामात्र भए । संविधानमा संघीय संसदमा ३३ प्रतिशत महिला उपस्थितिको ग्यारेन्टी गरिएको छ । त्यसैले राष्ट्रियसभामा प्रतिनिधित्व टुंगो लागेपछि अपुग प्रतिनिधिसभामा समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानले ग्यारेन्टी गरेपछि राज्यका निकायहरूमा कम्तीमा महिलाको सहभागिता सुनिश्चित भएको छ । तर दलहरूले भने अझै समावेशिताको सिद्धान्तलाई पूर्णरूपमा स्वीकार गर्नसकेका छैनन् ।


अहिले कुनै पनि दलको केन्द्रीय समितिमा महिलाको ३३ प्रतिशत उपस्थिति छैन । त्यसैले महिलाको सहभागिता सुनिश्चित गर्न सबैभन्दा पहिला राजनीतिक नेतृत्वले सोच परिवर्तन गर्न आवश्यक छ । भर्खरै एकीकरण भएको कम्युनिष्ट पार्टीले पनि महिला सहभागितालाई उपेक्षा गरेको छ । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको मन्त्रिपरिषदमा २ उपप्रधानमन्त्री सहित २४ जना छन् । तीमध्ये २ मन्त्री र २ राज्यमन्त्री मात्र महिला छन् । जुन संवैधानिक प्रावधानको भावना विपरीत हो ।


एकतापछि गठन भएको नेकपाको ४ सय ४१ सदस्यीय ‘जम्बो’ टोलीमा ७७ महिलामात्र सदस्य छन्, जुन १७.४६ प्रतिशत हो । राजनीतिक दल सम्बन्धी ऐनमा दलका सबै तहमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ । नेकपाले आयोगले आगामी महाधिवेशनपछि मात्र ३३ प्रतिशत पुर्‍याउने सर्तमा दल दर्ता गरेको छ । नेकपाले कानुनअनुसार महिलाको संख्या बढाउन केन्द्रीय समितिको संख्या विस्तार गर्नुपर्ने वा पुरुषलाई हटाएर महिला संख्या थप्नुपर्ने अवस्था भएपछि आयोगलाई राजनीतिक दबाबमा पारी पार्टी दर्ता गरेको हो । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा २ जनामात्र महिला छन् भने ९ सदस्यीय सचिवालयमा महिलाको सहभागिता शून्य छ । नेपाली कांग्रेस र राप्रपा, राजपा लगायतका पार्टीमा पनि महिला सहभागिता अत्यन्तै न्यून छ । प्रमुख प्रतिपक्षी काङ्ग्रेसको ८५ केन्द्रीय सदस्यमा १७ महिला (२२ प्रतिशत) छन् । जबकि ३३ प्रतिशतका लागि २८ जना महिला पुर्‍याउनुपर्ने हुन्छ ।


पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केही दिनअघि महिलाको ३३ प्रतिशत हिस्साको सम्बन्धमा अनावश्यक रूपमा एनजीओले उठाएको विषयवस्तु भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । यस्तै जेठ २२ गते अध्यक्षलाई पार्टीको आन्तरिक संरचनात्मक संगठनदेखि सरकारसम्ममा पार्टी नेतृत्वले उपेक्षा गरेको भन्दै ज्ञापनपत्र बुझाउन पुगेका महिला नेतृहरूलाई प्रधानमन्त्री ओलीले अनावश्यक मागमा उचालिएर नहिँड्न चेतावनी नै दिए ।


राष्ट्रपति विद्यादेवी भण्डारीले २०६३ सालको पुन:स्थापित प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिताको प्रस्ताव लगेकी थिइन् । अहिले उनै राज्य प्रमुखको भूमिकामा रहिरहँदा महिला सहभागितामा ३३ प्रतिशत नहुनु दु:खद पक्ष होइन र ? त्यसैले यो विषयमा सरकारलाई सुझाव दिने तथा त्यसका लागि पहल गर्ने दायित्व राष्ट्र्रपतिको पनि हो ।


संवैधानिक प्रावधानमा पनि केही कमजोरी छ । मुख्य कार्यकारी र नीति निर्माण तहमा प्रत्यक्ष प्रभाव राख्ने क्षेत्रमा महिला सहभागिता कम छ । जस्तो–उपप्रमुखमा मात्र किन ? उनीहरू सक्षम र योग्य छन् भने प्रमुख पदमा किन नहुने ? त्यसैगरी दलको माथिल्लो तहमा महिला सहभागिता किन छैन ? त्यसैले महिला समावेशीको विषयमा नयाँ शिराबाट दबाबमूलक कार्यक्रम तथा बहस आवश्यक छ ।

विविधा

लोकतन्त्र र योग्यतातन्त्र

कर्मचारीतन्त्रमा औसत होइन, उत्कृष्ट मस्तिष्क भित्र्याउन सक्नुपर्छ । ‘मेरिटोक्रेसी’ मूलमन्त्र बन्नुपर्छ ।
- उमेशप्रसाद मैनाली

राजनीतिक प्रणालीहरूमा लोकतन्त्रलाई सर्वोत्कृष्ट मानिँदै आएको छ । लोकतन्त्रका आदर्श भनेको स्वतन्त्रता, नागरिकको सर्वाेच्चता, सरकारको नागरिकप्रतिको जवाफदेहिता र नागरिक सहभागिता नै मुख्य हुन् । तर यिनै आदर्शभित्र लुकेको खराबी वा रोगले कहिलेकाहीं यो व्यवस्था दुर्घटनामा पर्न सक्छ । ग्रीक दार्शनिक प्लेटोले भनेका छन्– ‘हरेक चिजसँग विशेष खराबी र रोग पनि हुन्छन् र त्यसैले त्यस चिजको नाश गर्छ । अन्धोपनले आँखालाई, ढुसीले मकैलाई र धमिराले काठलाई नष्ट गर्छ ।’ उनले स्वतन्त्रताप्रतिको अत्यधिक प्रेमले तानाशाहीतिर डोर्‍याउँछ र राजनीतिक व्यवस्था कुलिनतन्त्र, त्रासतन्त्र, अल्पतन्त्र, लोकतन्त्र र तानाशाही पाँच चक्रमा घुमिरहन्छ भनेका छन् । यस राजनीतिक प्रणालीले आत्मसात गरेका प्रक्रियाहरूको गलत अवलम्बन गर्दा संकटमा परे पनि यसको विकल्प भनेको अझ बढी लोकतन्त्र नै हो । राजनीतिशास्त्री सीईएम जोडले लेखेका छन्, ‘लोकतन्त्र र्‍याफ्टजस्तै हो र कहिल्यै डुब्दैन, तर कुनै समय यसरी चल्छ कि तिम्रो खुट्टा पानीमा झार्नुपर्छ ।’ उनको यो उदाहरण हरेक लोकतन्त्रवादीका लागि मननयोग्य छ ।

 

जनताको ‘च्वाइस’ र ‘रिमोट च्वाइस’
लोकतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले उनीहरूबाट छानिएका योग्यतम व्यक्तिहरूबाट सरकार सञ्चालन हुनुपर्छ भन्ने मान्यता छ । सार्वजनिक पदको हकदार हुन प्रत्यक्ष वा अप्रत्यक्ष नागरिकको बृहत अंग (ग्रेट बडी अफ द पिपुल) बाट छानिनुपर्ने, सीमित अवधि उनीहरू सन्तुष्ट रहेसम्म काम गर्न पाउने गरिन्छ । आधुनिक प्रतिनिधिमूलक लोकतन्त्रमा जनताका प्रतिनिधिका रूपमा निर्वाचित प्रतिनिधिहरू मात्रै हँुदैनन्, योग्यताका आधारमा नियुक्त हुनेहरू पनि शासन–प्रशासनमा संलग्न हुन्छन् । यी दुवै वर्गका जनताका प्रतिनिधि जनताले योग्य ठानेका व्यक्ति हुनुपर्छ । अमेरिकी संविधानका मस्यौदाकार जेम्स मैडिसनले लेखेका थिए, ‘न्यायाधीशहरू र अन्य अधिकारीहरू पनि जनताको चयन वा दूरचयन (रिमोट च्वाइस) बाट छानिनुपर्छ ।’ यसको परिणामस्वरुप अहिलेसम्म पनि संयुक्त राज्य अमेरिकाका विभिन्न काउन्टीमा न्यायाधीश र अन्य सरकारी कर्मचारी जनताद्वारा निर्वाचित गर्ने प्रचलन छ । संघीय न्यायाधीशहरू लगायत उच्च पदाधिकारीको नियुक्तिको अनुमोदन सिनेटबाट गराउनुपर्ने प्रावधान छ । स्वीट्जरल्यान्डमा पनि न्यायाधीशहरू निर्वाचनबाट आउने व्यवस्था छ । राजनीतिक जनप्रतिनिधिहरूको सन्दर्भमा जनताको ‘डाइरेक्ट च्वाइस’ वा ‘रिमोट च्वाइस’ले अमेरिकामा अहिलेसम्म काम गरे पनि नियुक्ति हुने कर्मचारीहरूको सन्दर्भमा यो व्यवस्था लामो समय रहेन । राष्ट्रपति ज्याक्सनले नयाँ सिद्धान्त प्रतिपादन गर्दै ‘लुट विजेताको हुन्छ (टु द भिक्टर बिलोङ्स द स्पोयल)’ भनेपछि कर्मचारीतन्त्रमा ‘लुट प्रणाली’ लागू गरियो । हरेक राष्ट्रपति विजयी भएपछि ‘विजयोपार’को रूपमा सरकारी पदहरू आफ्ना समर्थक कार्यकर्तालाई दिनथाले । यसरी ‘मेरिट’को सट्टा ‘मर्सी’ र ‘कम्पिटेन्सी’को बदला ‘क्रोनिज’ले स्थान पाउन थाले । यसको चरमोत्कर्षमा एकजना सरकारी पदका आकांक्षी चाल्र्स गिताऊ भन्ने व्यक्तिले सन् १८८८ मा राष्ट्रपति गारफिल्डको हत्या गरेपछि पुनर्विचार गर्नुपर्ने स्थिति सिर्जना भयो र विस्तारै माथिल्ला पदहरू बाहेक अन्य पदमा योग्यता प्रणाली लागू गरियो । अन्य देशमा जहाँ लोकतान्त्रिक व्यवस्था थिएन, त्यहाँ तीन प्रकारले सार्वजनिक पद दिन थालियो– धनिकतन्त्र, संरक्षकतन्त्र र लुटतन्त्र । फ्रान्समा फ्रेन्च क्रान्तिभन्दा अगाडि सरकारी पदहरू व्यापारिक तरिकाले बिक्री गरिन्थ्यो र धनी तथा कुलिन वर्गले यो पद किन्ने गथ्र्याे । साधारण किसान र जनताबाट यो पद किन्नेले रकम असुली गथ्र्याे, जसलाई ‘क्विट मनी’ भनिन्थ्यो ।

 

‘मेरिट सिष्टम’ र ‘मेरिटोक्रेसी’
‘सर्वोत्कृष्टले मात्र राज्यको सेवा गर्नेछ,’ योग्यता प्रणालीको सुरुवातमा संयुक्त राज्य अमेरिकामा दिइएको नारा थियो । यो व्यवस्था अमेरिकामा पेन्डलेटन एक्ट सुरु भएपछि लागू भए पनि योग्यता प्रणालीका आधारमा कर्मचारी भर्ना गर्ने क्रम चीनमा तीन हजार वर्ष पहिले नै सुरु भइसकेको मानिन्छ । सरकारी पदमा भर्ना गर्न चीनमा लिखित परीक्षा लिने गरिन्थ्यो । चीनको बेइजिङस्थित ‘फर्बिडेन सिटी’ यस इतिहासको साक्षीको रूपमा छ । आधुनिक योग्यता प्रणाली व्यवहारमै लागू गर्नेमा बेलायत पहिलो राष्ट्र मानिन्छ । उसले ब्रिटिस इन्डियामा सन् १८५४ मै योग्यता प्रणालीका आधारमा कर्मचारी छनोट गर्ने कार्य सुरु गरेको थियो । अहिले अधिकांश देशमा योग्यता प्रणालीको आधारमा सरकारी कर्मचारी छनोट गर्ने गरिन्छ । योग्यताका आधार (मेरिट क्राइटेरिया) बाहेक अन्य राजनीतिक वा सामाजिक आधारमा सार्वजनिक पद दिइनु हुन्न भन्ने मान्यता स्थापित भइसकेको छ । रूस, चीन लगायत केही साम्यवादी र लोकतन्त्र नभएका अन्य केही मुलुकमा भने योग्यता प्रणाली अवलम्बन गरिएको छैन । रूसमा दलका कार्यकर्ताहरूलाई सरकारी पदहरूमा नियुक्ति गरिन्छ, जसलाई ‘नोमेनक्रेटुरा’ भनिन्छ । चीनमा पनि यस्तै स्थिति छ ।


योग्यता प्रणाली (मेरिट सिष्टम) को प्रयोग भएको लामै समय भए पनि योग्यतातन्त्र (मेरिटोक्रेसी) को अवधारणा विकास भएको धेरै भएको छैन । ब्रिटिस समाजशास्त्री माइकल योङले सन् १९५८ मा यो शब्द प्रयोगमा ल्याएका हुन् । योग्यता प्रणालीले कर्मचारी छनोटको सीमित क्षेत्र समेटेकोमा ‘योग्यतातन्त्र’ले व्यापक अर्थबोध गराउँछ । यस्तो समाज जहाँ जुन नागरिकले उत्कृष्टता प्रदर्शन गर्छ । उसले नेतृत्वको पदमा र उसको क्षमताको आधारमा अन्य पद पाउन तथा पदोन्नति हुन पाउँछ । त्यही प्रणाली नै ‘योग्यतातन्त्र’ हो भनेर परिभाषित गरिएको छ । सरकारका दुवै विभाग– निर्वाचित र नियुक्तमा यो ‘तन्त्र’ लागू भएमात्र लोकतन्त्रको मर्म अनुरुप हुन्छ भन्ने मान्यता बनेको छ । यो बेग्लै कुरा हो कि योग्यताका आधार भने यी दुई वर्गका लागि फरक हुनसक्छ । बुद्धि, मिजास, संयम, साहस, सोच, जनप्रियता राजनीतिक नेतृत्वका लागि योग्यताका आधार हुन सक्छन् । ज्ञान, सीप, प्रकृत्ति र मनोवैज्ञानिक स्थिति कर्मचारीह छनोटका आधार हुन सक्छन् । निर्वाचनका विविध रूप राजनीतिक पदका लागि प्रयोग गरिन्छ भने कर्मचारीका लागि लिखित परीक्षा, व्यक्तित्व र झुकाव परीक्षा, सीप परीक्षण, मनोवैज्ञानिक परीक्षण लगायतका परीक्षण विधि प्रयोग गरिन्छ । परीक्षणका विधिहरू वैज्ञानिक भएनन् भने ‘योग्यतातन्त्र’ले उल्टो नतिजा पनि दिन सक्छ । यसै सन्दर्भमा ‘एरोज इम्पसिबिलिटी थ्योरम’को चर्चा गर्न सान्दर्भिक देखिन्छ । यसको निचोड छ, ‘हरेक मतदान प्रणालीले गलत र स्वेच्छाचारी विजेता बनाउँछ ।’ यो निष्कर्ष सर्वस्वीकार्य नभए पनि नेपाल लगायत धेरै अल्पविकसित मुलुकमा यस्तै देखिएको छ ।

 

लोकसेवा आयोगको ‘फ्लागसिप’
नेपालमा योग्यतातन्त्रको चर्चा गर्दा कर्मचारीतन्त्रसँग यस अवधारणालाई जोडेर विश्लेषण गर्न खोजिएको छ । नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना लगत्तै ‘पब्लिक सर्भिस कमिसन’का नाममा स्वतन्त्र संवैधानिक निकाय गठन भई कर्मचारीको भर्ना योग्यताका आधारमा गर्न सुरु गरियो । राणाकालीन ‘चाकडी प्रथा’मा आधारित कर्मचारी भर्ना र ‘पजनी प्रथा’को रूपमा बर्खासी तथा बढुवा गर्ने प्रचलनलाई खारेज गरेर आधुनिक योग्यता प्रणाली एक्कासि लागू गर्नु आफैमा क्रान्तिकारी कदम थियो । यस प्रणालीले काम गर्न खोज्दा समग्र कर्मचारीतन्त्रमा आएको कम्पनले केही वर्ष आयोगलाई काम गर्ने वातावरण नै नदिएको र राजनीतिक नेतृत्वले आयोगलाई ‘बाइपास’ गर्दै आफ्ना मानिसलाई प्रशासनिक गठन, पुनर्गठन आदि नाममा सरकारी सेवामा छिराउने काम गरेको देखिन्छ । जननिर्वाचित सरकार अपदस्थ गरी तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते ‘कू’ गरेपछि लोकसेवा आयोगलाई पनि २०१७ माघ २५ देखि २०१८ जेठ मसान्तसम्म निलम्बन गरी प्रशासनलाई ‘स्वच्छ’ बनाउने नाममा ‘कालो पजनी’ गरिएको थियो ।


यस्ता उकाली–ओरालीबीच पनि आयोगले आफ्नो अस्तित्वको लडाइँ लडिनै रह्यो । २०१२ सालदेखि आयोगले छनोटका केही मापदण्ड बनाई कर्मचारीहरूको ‘स्क्रिनिङ’ गर्न थालेको थियो । २०१६ सालसम्म त आयोगले नेपाल प्रहरी र सेनाका अधिकृतहरूको ‘स्क्रिनिङ’को काम पनि गथ्र्याे । विदेशमा छात्रवृत्तिमा अध्ययन गर्न जानेको छनोट पनि आयोगले गथ्र्याे । पञ्चायती व्यवस्थामा अञ्चलाधीश, भूमिसुधार अधिकारी, सहायक अञ्चलाधीश जस्ता पदमा राजनीतिक नियुक्ति गर्ने प्रक्रिया सुरु गरेर आयोगको योग्यता परीक्षण छलेर आफ्ना मानिस निजामती सेवामा छिराउने काम तत्कालीन राजा महेन्द्र र वीरेन्द्रले गरेका थिए । पछि विकासबाट साधारणमा ल्याउने भनी लोकसेवा आयोगको सामान्य अन्तर्वार्ताबाट स्थायी गराउने नीति तय गरिएको थियो । यी केही अपवाद बाहेक अन्य कर्मचारीको छनोटमा भने आयोगले निष्पक्षता र स्वच्छताको अनुपम नमुना देखाई नै रह्यो । निरंकुश निर्दलीय पञ्चायती व्यवस्थामा पनि आयोग जनविश्वासको धरोहर, निष्पक्षताको पर्याय र योग्यता प्रणालीको उत्कृष्ट केन्द्रका रूपमा जनमानसमा अमिट छाप छाड्न सफल भएको छ । ६७ वर्षमा आयोग ‘मेरिटोक्रेसी’को यस्तो ‘मिसाल’ बन्नसकेको छ, जुन अन्य कुनै पनि सार्वजनिक संस्थाका लागि इष्र्याको विषय बन्न गएको छ । लोकसेवा आयोग आफ्नो क्षेत्राधिकारमा आएको संकुचन, विस्तार, सहज–असहज जुनसुकै परिस्थितिमा पनि आफ्नो साख जोगाइराख्न तथा निष्पक्ष संस्थाको गौरवपूर्ण अतितलाई अक्षुण्ण राख्न सफल भएको छ । यस क्रममा यसले विकास गरेका सिद्धान्त, मापदण्ड र प्रक्रिया अन्य संस्थाका लागि योग्यतातन्त्र लागू गर्ने मानक बनेका छन् ।

 

प्रदेशमा नझुकोस् निष्पक्षताको झण्डा
संविधानले प्रदेश स्तरमा पनि प्रदेश लोकसेवा आयोग गठन हुने प्रावधान राखेको छ । प्रत्येक प्रदेशमा गठन हुने यो आयोग संवैधानिक हैसियतको नभई कानुनी संस्थामात्र हुनेछ । प्रदेश कानुन अनुसार गठन हुने यो संस्थाको गठन, काम, कर्तव्य आदि सम्बन्धी आधार र मापदण्ड संघीय कानुनले निर्धारण गरे बमोजिम हुने संविधानको धारा २४४ मा उल्लेख छ । प्रदेशमा गठन हुने आयोग संघको लोकसेवा आयोगजस्तै स्वतन्त्र, निष्पक्ष हुन यसको हैसियत संवैधानिक हुनुपथ्र्याे । प्रदेशको बहुमत प्राप्त सरकारले आफू अनुकूल कानुन निर्माण गरेर वा संशोधन गरेर आयोगलाई आफ्नो निर्देशन बमोजिम चल्ने संस्थामा रूपान्तरण गरिदिन सक्छ । त्यसैले संघीय कानुनमा आधार र मापदण्ड तोक्दा नै आयोग गठन गर्दा वा आयोगका पदाधिकारी तोक्दा प्रदेश मुख्यमन्त्री, प्रदेशसभाका विपक्षी दलका नेता, प्रदेश संसदका सभामुख, प्रदेश उच्च अदालतका मुख्य न्यायाधीश रहेको सिफारिस समिति रहनुपर्ने, नियुक्त पदाधिकारीलाई प्रदेश संसदले मात्र हटाउन पाउने, योग्यता प्रणालीका मान्य सिद्धान्त र मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था राख्न उपयुक्त हुन्छ । प्रदेश लोकसेवा आयोगले योग्यता प्रणालीका सिद्धान्त र मापदण्ड अनुकूल काम गरे–नगरेको सम्बन्धमा निगरानी राख्नेगरी संघीय कानुनमै व्यवस्था गर्न सकिन्छ । लोकसेवा आयोगले लामो समयदेखि विकास गरेका सिद्धान्त, मापदण्ड, कार्यविधि र आन्तरिकीकरण गरेका व्यवस्था सफल सिद्ध भएका छन् । यी व्यवस्थाबाट लाभ लिने अवसर पनि अब बन्ने प्रदेश लोकसेवा आयोगलाई छ । तर यी सबै कुरा कस्तो संस्था निर्माण गर्ने राजनीतिक प्रतिबद्धता हुन्छ, त्यसैमा भर पर्छ । स्थापना गर्दा नै कार्यकारीको प्रभावबाट मुक्त संस्था नबनाउने हो भने जति योग्य व्यक्ति नियुक्ति गरे पनि शंकामुक्त हुन सक्दैन । विभिन्न संस्थान, विश्वविद्यालय आदिमा कानुनमै पदपूर्ति समिति व्यवस्था गर्दा पनि विवादरहित हुन नसकेको तथ्यबाट सिक्न जरुरी छ ।


सरकार यसमा रहेका मानिसभन्दा असल हुन सक्दैन । त्यसैले ठिक ठाउँमा ठिक मानिस राख्न सक्नुमै कार्यकारीको सफलता निर्भर हुन्छ । कर्मचारीको भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग र सुर हो । गलत भर्ना प्रणालीले प्रशासन संयन्त्रभित्र स्थायी खराबी प्रवेश गर्छन् र यसले अन्तत: सुस्त र असक्षमको आश्रयस्थल यो संस्थालाई बनाइदिन्छ । यस्ता व्यक्तिहरू रहेको संस्थाले अहिलेको चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्न सक्दैन, परिवर्तनलाई कुशल व्यवस्थापन पनि । कर्मचारीतन्त्रमा औसत होइन, उत्कृष्ट मस्तिष्क भित्र्याउन सक्नुपर्छ । त्यसैले ‘मेरिटोक्रेसी’ मूलमन्त्र बन्नुपर्छ ।

Page 8
समाचार

घूससहित पक्राउ

- कान्तिपुर संवाददाता

रुकुम पश्चिम (कास)– इलाका वन कार्यालय चौरजहारीका प्रमुख रोहितकुमार साहसहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।


कबुलियती वन समूहको काम सहजीकरण गर्ने भन्दै २३ हजार घूस लिएका साह र जिल्ला वन कार्यालयका ग्रामीण वित्त सहायक सन्दीप अधिकारीलाई आयोगको सुर्खेतस्थित कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।


उनीहरूलाई जिल्ला वनको प्रशासन फाँटबाट पक्राउ गरिएको आयोग प्रवक्ता मेघनाथ पौडेलले जानकारी दिए । भूमे गाउँपालिका–२, स्थित धनुघाँस कबुलियत वन समूहलाई जिल्ला वनले आयआर्जनका लागि ५० हजार रुपैयाँ सहयोग गरेको थियो । त्यसैका लागि सहजीकरण गरिदिने भन्दै साह र अधिकारीले समूहका पदाधिकारीसँग घूस मागेको गोप्य सूचनाका आधारमा अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।


जिल्ला वन कार्यालयमा रहेका सहायक वन अधिकृतमध्ये साह सिनियर सहायक वन अधिकृत हुन् । केही दिनअघि जिल्ला वन अधिकृत बाहिर जाँदा उनैले निमित्तको जिम्मेवारी सम्हालेका थिए । सोही सिलसिलामा उनी जिल्ला वन कार्यालयमा बसेको बताइएको छ ।

समाचार

पत्नीलाई बलात्कार गर्ने जेलमा

- कान्तिपुर संवाददाता

ताप्लेजुङ (कास)– आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने एक व्यक्तिले तीन वर्ष जेल सजाय पाएका छन् । जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ वर्ष कैद सजायसहित पीडित महिलालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउन आदेश दिएका हुन् ।
पीडकले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएका छन् । उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको छ । फुङलिङ नगरपालिका घर भई फक्ताङलुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडितसमेतलाई असर गर्ने भएकाले गोप्य राखिएको छ । २०७१ साउन ३० गते प्रहरीमा दर्ता जाहेरी भदौ ३० गते अदालत पुगेको स्रेस्तेदार गोपाल थापाले बताए । प्रतिवादी फरार रहेकाले फागुन २७ गते मुल्तवी राखिएको मुद्दा दुई वर्षपछि २०७४ माघ २६ गते ब्युँतेको थियो । पीडितले जाहेरीमा श्रीमान्ले कान्छी श्रीमती लिएर भागेको र केही समयपछि फर्केर आफूमाथि जबरजस्ती करणी गरेको उल्लेख गरेकी थिइन् ।

समाचार

गणित विषय अनिवार्य गर्न माग

- कान्तिपुर संवाददाता

सुर्खेत (कास)– पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा प्रायोगिक गणित विषय हटाउने तयारी गरेपछि सरोकारवालाले विरोध जनाएका छन् । विषय नै हटाउनु साटो उत्तीर्ण प्रतिशत बढाउन पाठ्यक्रम, पठनशैली र पद्धति परिमार्जन गर्नुपर्नेमा उनीहरूले जोड दिए ।
गणित शिक्षा परिषद् सुर्खेतले आयोजना गरेको ‘विद्यालय तहको कक्षा ११ र १२ को पाठ्यक्रममा प्रायोगिक गणित विषयको सान्दर्भिकता’ विषयक अन्तरक्रियाका सहभागीले उक्त विषय अनिवार्य राख्न राख्न माग गरेका हुन् ।


विज्ञान–प्रविधिको आधारस्तम्भका रूपमा रहेको गणित विषय अनिवार्य गरिनुपर्ने वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले बताए । ‘उत्तीर्ण प्रतिशत बढाउन पठनशैलीलाई परिमार्जित गर्न आवश्यक छ,’ उनले भने, ‘गणितलाई अनिवार्य नबनाइँदा अन्य विषयको पठनपाठनमा समेत समस्या हुन्छ ।’ पाठ्यक्रम विज्ञान र प्रविधिमैत्री भए मात्र शिक्षाले मार्गनिर्देशन गर्ने शिक्षाविद् पीताम्बर ढकालले बताए । अरू विषयसँग अन्तरसम्बन्धित रहेको गणित विषयलाई हाउगुजी बनाइएको उनको भनाइ छ । शिक्षाविद् भोजराज शर्माले अधिकांश विषयको जग गणित भएकाले अनिवार्य गर्नुपर्ने धारणा राखे । गणित शिक्षा परिषद् कर्णाली प्रदेश संयोजक रत्नप्रसाद पाण्डेले उत्तीर्ण प्रतिशत बढाउन शिक्षाशैली र पद्धति परिवर्तन गर्नु आवश्यक रहेको जनाए । परिषद्की सुर्खेत अध्यक्ष प्रेमकुमारी ढकालले गणित विषय हटाउँदा आधारभूत विज्ञानको जग नै खलबलिने बताइन् ।

Page 9
विश्वकप अपडेट

आयोजक रुसको रवाफ

- कान्तिपुर संवाददाता
युरी गाजिन्सकीले विश्वकप २०१८ को पहिलो गोल गरेपछि खुसी साट्दै रुसी खेलाडी ।  तस्बिरहरू : रोयटर्स

मस्को (रोयटर्स)– विश्वकप फुटबलमा आयोजक राष्ट्रको सफल सुरुआतलाई निरन्तरता दिँदै रुसले फिफा विश्वकप २०१८ को उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० ले पराजित गरेको छ ।


राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रुसले १२ औं मिनेटमा अग्रता लियो । युरी गाजिन्सकीले एलेक्जेन्डर गोलोभिनको क्रसको सदुपयोग गर्दै हेडर गोलमार्फत घरेलु टोलीलाई अगाडि बढाएका थिए ।


पहिलो हाफको अन्त्यतिर डेनिस चेरेसेभले रुसको अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीका रूपमा मैदान पसेका चेरेसेभले डिफेन्सलाई पेनाल्टी क्षेत्रभित्र छलाउँदै उत्कृष्ट गोल गरेका थिए । २३ औं मिनेटमा एलन जागोएभको तिघ्रामा चोट लागेपछि उनी मैदान प्रवेश गरेका थिए ।

मस्कोस्थित लुजनिकी रंगशालामा भएको विश्वकप उद्घाटन समारोहमा २०१० का विजेता स्पेनका कप्तान इकर कासियास र मोडल नतालिया विश्वकप ट्रफी प्रदर्शन गर्दै  ।


दोस्रो हाफमा पनि रुसले पहिलो हाफको लय कायम राख्दै साउदीमाथि दबाब कायम राख्यो । रुसको अग्रता बढाउन फेरि पनि अर्का वैकल्पिक खेलाडीले गोल गरे । फरवार्ड आर्टेम ज्युबाले मैदान छिरेको ८९ सेकेन्डमै गोल गरेका थिए । युवा गोलोभिनकै क्रसमा उनले हेडर गोल गरेका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा चेरेसेभले रुसका लागि चौथो गोल गर्दा गोलोभिनले उत्कृष्ट प्रदर्शनको अन्त्य गोलसँगै गरे । गोलोभिनले पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरेका थिए ।


त्यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले औपचारिक रूपमा विश्वकपको उद्घाटन गरेका थिए । खेल सुरु हुनुअघि बोल्दै पुलिनले आफ्नो देशले विश्व खेलकुदकै प्रतिष्ठित प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी व्यक्त गरे । ‘हाम्रो देशमा फुटबल प्रख्यात मात्र नभएर सुन्दर खेलका रूपका लिइन्छ । यहाँका मानिसले फुटबललाई साँच्चै नै माया गर्छन् । खेलप्रतिको मायाले विश्वलाई एकत्रित बनाएको छ,’ उनले भने । ८० हजार दर्शक क्षमताको लुजिनिकी रंगशालामा ब्रिटिस पपस्टार रोबी विलियम्सले आफ्नो प्रस्तुति दिएका थिए ।

 

Page 10
विश्वकप अपडेट

संकटमा स्पेनको विश्वास

समूह बी: स्पेनविरुद्ध पोर्चुगल
- कान्तिपुर संवाददाता

नयाँ प्रशिक्षकको नेतृत्वमा अभ्यासरत स्पेनिस टोली । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (दायाँ) ।

रोयटर्स/एएफपी

सोची (रोयटर्स)– स्पेन पछिल्लो २० खेलमा अपराजित छ भने पोर्चुगलले सन् २०१४ सेप्टेम्बरयता प्रतियोगितात्मक खेलमा जम्मा एक हार बेहोरेको छ । शुक्रबार यी दुई बलिया टोलीबीचको बहुप्रतीक्षित खेलमा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा थियो । तर बुधबारको घटनापछि उक्त खेलले नयाँ आयाम लिँदै छ ।

 

स्पेनले सनसनीपूर्ण निर्णय गर्दै विश्वकप उद्घाटनको पूर्वसन्ध्यामा प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्‍यो । उनको स्थानमा फर्नान्डो हिएरोको नियुक्ति गर्न पनि लामो समय लगाएन । हिएरोले यसअघि सिनियर स्तरमा स्पेनी दोस्रो श्रेणी क्लब ओभिएडोको जिम्मेवारीमात्र सम्हालेका छन् । गत महिनामात्र स्पेनको राष्ट्रिय टोलीसँग नयाँ सम्झौता गरेका लोपेटेगुईले मंगलबार रियल म्याड्रिडसँग सम्झौता गरेका थिए । उनले अर्को सिजन रियल म्याड्रिडको प्रशिक्षक बन्ने स्विकारेपछि स्पेनिस फुटबल महासंघले उनको नियुक्ति घोषणाभन्दा ५ मिनेटअघि मात्र पत्तो पायो । महासंघलाई यो पक्कै सह्य थिएन ।


यसै सन्दर्भमा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले सन् २०१६ को युरोपेली च्याम्पियनसिपपछि नयाँ सम्झौता गरेको प्रसंग भने फरक छ । ‘हामी छलफलका लागि
बस्यौं, एक कप कफी पियौं र त्यसबेलासम्म दुवै पक्ष समझदारीमा आइसकेको अवस्था थियो,’ त्यति बेला सान्तोसले भनेका थिए ।


छिमेकी राष्ट्रबीचको प्रतिस्पर्धा त छँदै छ । रियल म्याड्रिडमा सँगै खेल्ने स्पेनका कप्तान सर्जियो रामोस र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको प्रतिस्पर्धा पनि हेर्नलायक हुनेछ । सुरुआती चरणमा हुने मुख्य खेलमध्ये एक हो स्पेनविरुद्ध पोर्चुगल ।


स्पेनको स्थितिले खेलमा अझै रोमाञ्च थप्नेछ । महासंघको यस निर्णयले खेलमा कतिको असर पुग्ने हो हेर्न बाँकी छ । केही मिडियाले लोपेटेगुईबारे निर्णयलाई लिएर स्पेनिस टोलीभित्र विवाद रहेका पनि जनाइरहेका छन् ।


यस्तो अवस्थामा सामान्यतया टोलीमा केही समस्या उत्पन्न हुने भए पनि कप्तान रामोसले सामाजिक सन्जालमार्फत सन्देश दिइसकेका छन् । ‘हामी राष्ट्रिय टोली हौं । हामीले राष्ट्रको झण्डा, समर्थक र सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गरिरहेका छौं,’ उनले टीटरमा लेखेका छन्, ‘हाम्रो जिम्मेवारी देशको साथ र देशकै लागि हो । हिजो, आज र भोलि पनि । ’


सन् २०१६ मा लोपेटेगुईले जिम्मेवारी सम्हालेसँगै गुमाएको अस्तित्व स्पेनले फिर्ता पाएको अनुभूति गरेको थियो । उनले लगातार पोसेसन राख्दै विपक्षीलाई हायलकायल बनाएका थिए । उनको आगमनपछिको नतिजाले पनि प्रदर्शन सिद्ध पारेको छ । युरोपेली च्याम्पियन पोर्चुगलले सान्तोसको आगमनपछि खेलेका २४ औपचारिक खेलमा एकपल्टमात्र हार बेहोरेको छ । रोनाल्डो र बर्नार्डो सिल्भाको उपस्थिति रहे पनि बेलाबखत पोर्चुगलको प्रदर्शन खराब रहन्छ ।


स्पेनले पछिल्ला केही खेलमा पोर्चुगलमाथि वर्चस्व कायम गरेको छ । हालसम्म खेलेका ३५ खेलमा स्पेनले १६ खेल जितेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ । स्पेनले सन् २०१० को विश्वकप र सन् २०१२ को युरोमा पोर्चुगललाई पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।


इरान र मोरक्कोसम्मिलित यस समूहमा दुवै टोली खेल बराबरीमा टुंगिए खुसी हुनेछन् । यद्यपि पोर्चुगलका प्रशिक्षक अर्कै सोचमा छन् । ‘म जितबाहेक अन्य नतिजाबारे सोचिरहेको छैन,’ उनले भने, ’हामी यहाँ प्रत्येक खेल जित्ने लक्ष्य लिएर आएका हौं ।’

विश्वकप अपडेट

रोचक तथ्य: खर्चालु विश्वकप

- कान्तिपुर संवाददाता

सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजना गर्दा १४ अर्ब ५० करोड अमेरिकी डलर खर्च भएको थियो । यो रकम ब्राजिलभन्दा अगाडि आयोजना भएको पाँच विश्वकपको कुल खर्चभन्दा बढी थियो । यसपटक रुसमा पनि कुल बजेटले १४ अर्ब छुने आँकलन गरिएको छ ।

 

विश्वकप अपडेट

Player to watch: मेधी बेनाटिया, डिफेन्डर, मोरक्को

- कान्तिपुर संवाददाता

क्लब फुटबलमा युरोपका ठूला क्लबबाट आफ्नो पहिचान स्थापित गरिसकेका बेनाटिया राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण खेलाडी हुन् । युभेन््समा राम्रो प्रदर्शन गर्न नसक्दा गतवर्ष उनले आफैं राष्ट्रिय टोलीमा नखेल्ने निर्णय गरेका थिए । विश्वकपमा भने उनको अनुभवको भरपुर उपयोग हुनेछ ।

 

विश्वकप अपडेट

Player to watch: आन्द्रे सिल्भा, फरवार्ड, पोर्चुगल

- कान्तिपुर संवाददाता

गत सिजन एसी मिलान पुगेका २२ वर्षीय फरवार्ड सिल्भाका लागि प्रदर्शन सुखद रहन सकेन । यसका बाबजुद उनले राष्ट्रिय टोलीका लागि भने छनोटका क्रममा क्रिस्टियानो रोनाल्डोसँग मिलेर ९ गोल गरे । पोर्चुगलको आक्रमणलाई तिखार्ने लक्ष्यमा उनको असली परीक्षा हुनेछ ।

 

विश्वकप अपडेट

इरानलाई तयारीको प्रेरणा

समूह बी: इरानविरुद्ध मोरक्को
- कान्तिपुर संवाददाता
इरानी टोली

सेन्ट पिटर्सबर्ग (एएफपी)– इरानका प्रशिक्षक कार्लोस क्वेरेजले विश्वकपको सामग्री कटौती गर्ने नाइकको निर्णयका कारण मोरक्कोविरुद्ध शुक्रबार हुने खेलअघि खेलाडीलाई एकताबद्ध बनाएको बताएका छन् ।


नाइकले संयुक्त राष्ट्रसंघको नाकाबन्दी लगाइएकाले इरानी टिमलाई फुटबल बुट उपलब्ध गराउन स्वीकृति नपाएको घोषणा गरेको थियो । अन्त्यतिर भएको निर्णयले इरानको तयारी प्रभावित पारेको छ । केही इरानी खेलाडीले आफैंले रुसका पसलबाट बुट खरिद गरिरहेका छन् भने केही खेलाडीले क्लबका सहकर्मीसँग सहयोग मागेका छन् ।


‘यो हाम्रा लागि प्रेरणास्रोत हो,’ क्वेरेजले भने, ‘मेरो व्यक्तिगत विचारमा नाइकको पछिल्लो वक्तव्य अनावश्यक थियो । नाकाबन्दी लगाएकोबारे सबैलाई चेत थियो । उसले त्यसबाट बाहिर आएर माफी माग्नुपर्छ किनभने यी २३ खेलाडीविरुद्ध मुर्खतापूर्ण र अनावश्यक कार्य भएको छ ।’


ग्रिस र कोसोभोविरुद्धका मैत्रीपूर्ण खेल पनि स्थगित भएको थियो । त्यसैले तयारीमै कठिन अवस्थाबाट गुज्रिएको इरानले मोरक्कोविरुद्ध खेल्दै समूह ‘बी’ मा प्रतिस्पर्धा सुरु गर्नेछ । क्वेरेजको भनाइले शुक्रबार सेन्ट पिटर्सबर्गमा न्याय पाउन सकेन भने उसको टिमले अन्तिम १६ मा पुग्न स्पेन वा पोर्चुगललाई हराउनुपर्ने हुन्छ ।


‘पहिलो खेलमा मोरक्कोलाई आश्चर्यमा पार्ने प्रतिभा हामीसँग छ,’ क्वेरेजले भने, ‘उसको टिम धेरै राम्रो भएको हामीलाई थाह छ तर हाम्रोबारेमा थोरै मात्र उसलाई जानकारी भएजस्तो लाग्छ ।’ मैदानबाहिरका गतिविधिका बावजुद पनि उसको टिम आत्मविश्वासी देखिएको छ । इरान राम्रो लयमा छ पनि ।


चार वर्षअघि ब्राजिलमा लियोनल मेसीको गोलले समूह चरणमा इरानलाई अर्जेन्टिनाले हराएको थियो, जुन क्वेरेजलाई इरानमै रहन पर्याप्त भयो । रियल म्याड्रिडका पूर्वप्रशिक्षक एवं म्यानचेस्टर युनाइटेडका पूर्वसहायक प्रशिक्षक रहेका उनले इरानलाई पछिल्लो विश्वकपबाट एसियामा सातौं वरीयतादेखि पहिलोसम्म ल्याइपुर्‍याए ।


उनको टिमले प्रतियोगितामा हारेको पनि छैन । त्यसमा २२ खेल समावेश छ र इरान यस विश्वकपका लागि छनोट हुने पहिलो टिम पनि हो । उसले समूहमा पोर्चुगल र स्पेनलाई स्तब्ध पार्न सके पनि छनोटमा कुनै गोल नबेहोरेको मोरक्कोलाई पनि पराजित गर्नुपर्नेछ ।


फ्रान्सेली प्रशिक्षक हार्वे रेनार्डले सम्हालेको मोरक्को डिफेन्समा अनुशासित छ । मोरक्कोले सन् १९९८ यता पहिलोपल्ट विश्वकप खेल्न लागेको हो । स्पेनले प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेपछि मोरक्को र इरानले अविश्वसनीय नतिजा निकाल्ने आस बढाएको छ ।

विश्वकप अपडेट

आजको तस्बिर

- कान्तिपुर संवाददाता

मस्कोस्थित लुजनिकी रंगशालामा विश्वकपको उद्घाटन समारोहमा विशेष प्रस्तुति दिँदै व्रिटिस पपस्टार रोबी विलियम्स । तस्बिर : रोयटर्स

.

Page 11
विश्वकप अपडेट

सलाह खेल्ने निश्चित जस्तै

समूह ए : इजिप्टविरुद्ध उरुग्वे
- कान्तिपुर संवाददाता
इजिप्टका मोहम्मद सलाह

एकाटेरिनबर्ग (एएफपी)– इजिप्टका प्रशिक्षक हेक्टर कुपरले आफ्नो टोलीको विश्वकप पहिलो खेलमा मोहम्मद सलाहले खेल्ने लगभग निश्चित रहेको जनाएका छन् । इजिप्टले शुक्रबार उरुग्वेसँग खेल्दै छ । सलाह फिट भएर खेल्ने निश्चितजस्तै रहेको कुपरको भनाइ छ ।


‘उनको अन्तिम अभ्यास अझै हेर्न बाँकी छ, तर शतप्रतिशतसाथ भन्नसक्छु सलाहले खेल्नेछन्, उनी मैदानमा उत्रनेमा म सकारात्मक छु,’ कुपरले बिहीबार भने । ६२ वर्षे अर्जेन्टिनी प्रशिक्षक कुपरले भने, ‘सलाहको स्थिति अहिले ठीक छ । उनले चाँडो चोटबाट छुटकारा पाए ।’


मे २६ मा लिभरपुलबाट रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल्नेक्रममा सलाहलाई चोट लागेको थियो । उक्त खेल लिभरपुलले ३–१ ले हारेको थियो । विश्वकपमा सलाह कहलिएकामध्ये एक नाम हुन् र उत्तरी अफ्रिकी राष्ट्रको धेरै आशा उनीमाथि नै छ । कमजोर मानिएको समूह ‘ए’ का अन्य दुई टोलीमा आयोजक रुस र साउदी अरेबिया छन् ।


सलाह शुक्रबार नै २६ वर्ष लाग्दै छन् । तीन साताअगाडि सर्जियो रामोससँग च्याम्पियन्स लिग फाइनल खेल्दा जुधेपछि उनको विश्वकप नै गुम्ने सम्भावना बढेर गएको थियो । काँधमा लागेको चोटका कारण सलाहले मध्यान्तरअघि नै मैदान छाडेका थिए । अघिल्लो दिनसम्म सलाहको खेल्ने निश्चित नहुँदा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजको विश्वकप पुनरागमनलाई ओझेल बनाएको छ ।


‘यसपालि म आफ्नै विश्वकपलक्षित हुनेछु, विशेष गरी २०१४ मा मैले जे गरेको थिएँ,’ स्वारेजले हालैको एक रेडियो अन्तर्वार्तामा भनेका थिए । ३१ वर्षे स्वारेज उरुग्वेका उच्च गोल स्कोरर हुन् । उनको उच्च योगदानमा उरुग्वे २०१० मा सेमिफाइनल पुगेको थियो । तर क्वाटरफाइनलमा उनी विवादास्पद बन्न पुगे । उनले गोल हुन लागेको बल हातले बचाएर घानालाई सेमिफाइनल पुग्नबाट रोकेका थिए । त्यसका लागि उनलाई रातो कार्ड दिइए पनि स्वारेजलाई उरुग्वेमा त्यसकालागि नायकको सम्मान दिइएको थियो ।


चार वर्षअघि समूह चरणको खेलमा स्वारेजले इटालीका रक्षक जियोर्जी केलिनीलाई टोकेका थिए । त्यसका लागि उनलाई ९ अन्तर्राष्ट्रिय खेलमा खेल्न निलम्बन लगाइएको थियो । निलम्बनपछि स्वारेज राष्ट्रका लागि उस्तै प्रदर्शन दिँदै आएका छन् । उरुग्वे दक्षिण अमेरिकी छनोट चरणमा दोस्रो भएको थियो र टोली आयोजक रुसलाई उछिन्दै समूह ‘ए’ को विजेता बन्ने सम्भावना बलियो छ ।


इजिप्ट १९९० पछि पहिलोपल्ट विश्वकप खेल्न लागिरहेको हो । अफ्रिकन नेसन्स कपमा बलियो प्रदर्शन दिए पनि इजिप्टले विश्वकप छनोटमा कमजोर प्रदर्शन गर्दै आएको थियो ।
कुपरले इसाम इल हाडारीलाई शुक्रबार मौका दिएमा उनी विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी हुनेछन् । भेट्रान गोलकिपर इल हाडारी उरुग्वेसँगको खेलमा उत्रिएमा उनी ४५ वर्ष ४ महिना २९ दिनका हुनेछन् । ४ वर्षअघि कोलम्बियाका गोलरक्षक फारिद मोन्ड्रागोनले ब्राजिलमा ४३ वर्षमा विश्वकपमा प्रतिस्पर्धा गरेका थिए ।

Page 12
खेलकुद

बेखबर छ दिल्ली

- सुरेशराज न्यौपाने
कोलकातामा राखिएको अर्जेन्टिनाका लियोनल मेसीसहित विभिन्न देशका झन्डा र खेलाडीका आकृति ।तस्बिर : एएफपी

नयाँ दिल्ली– जेठ २९ मा सिंगापुरमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका प्रमुख शासक किम जोङ उनबीचको ऐतिहासिक वार्तापछि अहिलेको सारा विश्वको ध्यान रुसतिर मोडिएको छ । बिहीबार रुसको लुजनिकी रंगशालाबाट सुरु २१ औं फिफा विश्वकपमा सारा विश्वको ध्यान केन्द्रित छ ।


अबको एक महिना संसारका खेलप्रेमी (विशेषगरी फुटबल) को दिनरात प्रत्येक खेल, नतिजा अनि खेलाडीको प्रदर्शनको विश्लेषण गर्नमै बित्नेछ । विश्वको करिब आधा जनसंख्याले प्रतियोगितालाई प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । सञ्चारमाध्यमलाई पछयाउँदा नेपालमै पनि फुटबलको ज्वरो राम्रोसँग चढेको देखिन्छ । विशेषगरी काठमाडौंलगायतका सहरी क्षेत्रका टोली र गल्लीहरूमा खुलेका जर्सी पसलहरूले पनि फुटबलको महाकुम्भ सुरु भएको प्रस्ट झलक दिन्छ ।


राजनीतिक नेतृत्वदेखि व्यवसायी, कलाकार र आम सर्वसाधारण सबै विश्वकपको धुनमा मग्न देखिन्छन् । जबकि अन्तर्राष्ट्रिय रूपमा नेपाली फुटबलको स्तर निकै पछाडि छ । फिफा वरीयतामा नेपाल १६१ औं स्थानमा छ । २०७२ को ठूलो भूकम्पपछि लिग हुन नसक्दा नेपालको घरेलु फुटबल अस्तव्यस्त छ । नेपाली फुटबल विकासका लागि जिम्मेवार अखिल नेपाल फुटबल संघ (एन्फा) लामो समयदेखि आन्तरिक किचलोमा रुमल्लिएका कारण नेपाली फुटबल दिशाविहीन बन्न पुगेको थियो । यति विध्न भद्रगोलका बाबजुद पनि विश्वकप नजिकिँदै जाँदा नेपालीको फुटबलप्रतिको क्रेज फेरि एकपल्ट जागेको छ । यसबाट व्यापारिक क्षेत्रले पनि राम्रो लाभ लिइरहेको देखिन्छ । नेपालमा फुटबलको चहलपहल हेर्दा लाग्छ मानौं नेपाल आफैं विश्वकपमा पुगेको भान हुन्छ ।


तर, विश्वकै उदाउँदो अर्थतन्त्र र जनसंख्याका हिसाबले पहिलो ठूलो देश भारतमा भने विश्वकपप्रति खासै चासो रहेको पाइँदैन । कोलकाता, केरला, गोवा, गुहावटी, सिक्किमलगायतका केही ठाउँलाई छाड्ने हो भने अझै पनि विश्वकपले छोएको छैन भारतलाई । राजधानी नयाँदिल्ली त पूरै बेखबर देखिन्छ, फिफा विश्वकपबारेमा । जबकि फुटबलसम्बन्धित संरचनाहरूमा भारत नेपालभन्दा धेरै अगाडि नै रहेको छ । भारतका प्रमुख दैनिकहरूले करिब एक महिनाअघिदेखि नै विश्वकपको कभरेजलाई बृहत् बनाउँदै आएका थिए । भारतमा फुटबल प्रतियोगिताहरू पनि नियमित जसो नै भइरहेका पनि छन् । विगत केही वर्षयता त ठूला व्यापारिक घरानाले समेत फुटबलको प्रायोजनमा चासो देखाउन थालेका छन् । भारतको खेलस्तर पनि क्रमश: सुधारोन्मुख पनि देखिन्छ । फिफा वरीयतामा दक्षिण एसियामा सबैभन्दा माथि रहेको भारत कुल ९७ औं स्थानमा छ । एक साताअघि मात्र भारतले आफ्नै भूमिमा केन्या, न्युजिल्यान्ड, ताइपेईसम्मिलित अन्तरमहादेशीय कपसमेत जितेको थियो । प्रतियोगितामा भारतीय कप्तान सुनील क्षेत्रीको खेलले निकै प्रशंसासमेत बटुलेको थियो ।


सन् २०१४ देखि सुरु इन्डियन सुपर लिगले ठूला व्यापारी घरानालाई समेत आकर्षित गर्न सफल भएको छ । क्रिकेटको इन्डियन प्रिमियर लिगको ढाँचामा उक्त लिगमा पनि विदेशी खेलाडी महँगो रकम तिरेर अनुबन्ध हुने गरेका छन् । पुरस्कार राशि पनि भारु १५ करोडभन्दा बढीको छ । प्रायोजकको पनि कुनै कमि देखिँदैन । क्लबहरूलाई पनि बलिउड स्टार, क्रिकेटरदेखि ठूला व्यापारी घरानाले प्रायोजन रहेको छ । पछिल्लो संस्करणमा सुपर लिगमा करिब चार अर्ब भारुभन्दा बढीको प्रायोजन थियो ।


हालै सम्पन्न आईपीएलप्रतिको आमसर्वसाधारणको क्रेज भनिसाध्य थिएन । नयाँदिल्लीको उखरमाउलो गर्मीलाई बेवास्ता गर्दै हजारौं दर्शक रंगशाला पुग्ने गरेका थिए । टिकटका लागि गरेको हानाथापी त अविश्वसनीय नै लाग्थ्यो । भारतमा फुटबलको महाकुम्भप्रति किन यस्तो बेवास्ता ? यसका पछाडि भारतमा फुटबल संस्कृति विकास नहुनुलाई प्रमुख कारण ठान्छन् जानकारहरू ।


गत वर्षमात्र भारतले यू–१७ विश्वकपको आयोजनासमेत गरेको थियो । ‘यू–१७ विश्वकपमा जागेको क्रेजलाई निरन्तरता दिन सकेको भए भारतमा फुटबलको बेग्लै माहोल बनेको हुन्थ्यो,’ भारतीय हिन्दी दैनिक हिन्दुस्तानका खेलकुद ब्युरो प्रमुख सञ्जीवकुमार सिंहले बताए । त्यसमा सम्बन्धित निकायहरू चुकेको उनको दाबी छ ।


उपभोक्ता बजारमा पनि फुटबल र विश्वकपसँगसम्बन्धित सामग्रीको माग नभएकाले पनि फुटबलका लागि अनुकूल माहोल बन्न नसकेको सिंहको ठम्याइ छ । बजारमा माग भएको खण्डमा व्यवसायीले विज्ञापनमा बढी खर्च गर्ने र प्रचारप्रसार बढेपछि सर्वसाधारणको खेलप्रति स्वत: चासो बढ्ने उनको तर्क छ । ‘आईपीएलमा प्रायोजकहरू ओइरिनुको कारण पनि त्यही । सर्वसाधारणको बढो क्रेजसँगै बजारमा पनि चहलपहल ल्याएको हुन्छ,’ सिंहले भने । तर, त्यसका लागि सबैभन्दा पहिले फुटबल संस्कृतिको विकास हुनु आवश्यक रहेको उनी बताउँछन् । विगतमा जस्तै प्रतियोगिताअघि बढ्ने क्रमसँगै आमसर्वसाधारणको चासो पनि बढै जाने उनको विश्वास छ । ‘केही दिनपछि मिडियाहरूमा विश्वकपसम्बन्धित सामग्री बढै गएपछि आममानिसमा पनि ओ हो ठूलो प्रतियोगिता पो रहेछ भन्ने पर्न थाल्छ अनि उनीहरू चासो दिन थाल्छन् । योक्रम विगतदेखि नै चल्दै आएको छ,’ सिंहले भने ।


फुटबलप्रतिको यस किसिमको बेवास्ताप्रति भारतकै नाम चलेका खेलाडीहरूसमेत चिन्तित देखिन्छन् । राष्ट्रिय टोलीका पूर्वकप्तान भाइचुङ भुटिया त भारतमा फुटबल संस्कृति विकास नहुनुलाई चिन्ताजनक अवस्था मान्छन् । त्यो संस्कृति विकास भएपछि मात्र अनुकूल वातावरण बन्ने र समग्र खेलको स्तर माथि जाने उनले कान्तिपुरलाई बताए । भुटियाले भने, ‘फुटबलको संस्कार विकास नभएसम्म जति गरे पनि केही हुँदैन । क्रिकेटको छायाँमा परेर पनि हो ।’


भारतीय अंग्रेजी दैनिक द हिन्दुस्तान टाइम्समा बिहाबारै प्रकासित आफ्नो लेखमा पनि उनले अन्तर्राष्ट्रिय स्तरमा सफलता पाउन फुटबल संस्कृतिको विकासलाई पहिलो पाइलाका रूप लिनुपर्ने उल्लेख गरेका छन् । साधनस्रोत पर्याप्त नभएर पनि दक्षिणी अमेरिकी मुलुकहरूमा रहेको त्यस्तो संस्कृतिले नै ती मुलुकमा फुटबल खेल जीवित रहने उनको भनाइ छ । तर, भुटिया पछिल्ला वर्षमा बढै गएको फुटबलका प्रतियोगिताले केही आस भने जगाएको बताउँछन् । ‘अहिले अवस्था चिन्ताजनक भए पनि म आशावादी भने छु,’ भुटियाले भने ।

खेलकुद

अफगानिस्तान टेस्टमा

- कान्तिपुर संवाददाता
यामिन अहमादजाईले अफगानिस्तानका लागि पहिलो टेस्ट विकेट लिएपछि साथीसाग खुसी साट्दै ।तस्बिर : बीसीसीआई 

बैंग्लोर (एएफपी)– युद्ध र शरणार्थी क्याम्पबाट उठ्दै अफगानिस्तान बिहीबार टेस्ट क्रिकेटमा प्रवेश गर्‍यो । तर भारतका ओपनिङ ब्याट्सम्यान शिखर धवनले पहिलो दिनको खेलमा सानदार शतक प्रहार गरे । टेस्ट क्रिकेटको नवप्रवेशी राष्ट्रले दिनको खेलको अन्तिम दिन उत्कृष्ट पुनरागमन गरेर ऐतिहासिक दिनलाई रोचक बनाएको छ ।


घरेलु टोलीले टस जितेपछि धवनले १ सय ७ र अर्का ओपनर मुरली विजयले १ सय ५ रन बनाउँदै पहिलो विकेटमा १ सय ६८ रनको साझेदारी गरे । अफगानि बलरहरूले अन्तिम सत्रमा चार विकेट लिनुका साथै एउटा रनआउट गरेपछि २८०–१ को स्थितिमा रहेको भारत एम. चिन्नास्वामी रंगशालामा पहिलो दिनको खेल समाप्तिमा ६ विकेट गुमाई ३ सय ४७ रनमा रहेको छ ।


हार्दिक पाण्डेय १० र रविचन्द्रन अश्विन ७ रन बनाएर क्रिजमा छन् । वर्षाका कारण खेल दुईपल्ट अवरुद्ध भएपछि ७८ ओभरमात्र सम्भव भएको थियो । तीव्र बलर यामिन अहमादजाईले २ विकेट लिए । अफगानको बलिङ आक्रामणको सुरुआत लिएका उनले नै धवनलाई आउट गरी पहिलो सफलता लिएका थिए ।


‘हाम्रो राष्ट्रका लागि एउटा सपना पूरा भएको छ । अलि कति दबाब भए पनि हामीले यसको आनन्द उठायौं । भारत विश्व नम्बर एक भएको अवस्थामा भारतसँग खेल्नु राम्रो अनुभव पनि हो,’ अहमादजाईले भने । १३ ओभरमा ३२ रन खर्चेका उनले भने, ‘खेलमा अझै चार दिन बाँकी छ, हामी हाम्रो तर्फबाट सक्दो प्रयास गर्नेछौं ।’


अफगानिस्तान टेस्ट खेल्ने केवल १२ औं राष्ट्र बनेको हो । पाँचदिने संरचना खेल्ने राष्ट्रलाई क्रिकेटको शीर्ष राष्ट्रमा गनिन्छ । अस्घर स्टानिकजाईको कप्तानीमा रहेको अफगानिस्तानलाई विश्वको उत्कृष्ट टोलीसँग खेल्दा आफ्नो स्तर बुझ्न धेरै समय लागेन, जब धवनले भोजनअगाडि ८७ बलमा शतक बनाए । धवनले १९ चौका र ३ छक्का प्रहार गरे । उनले अफगानी सनसनी स्पिनर रशिद खानको पहिलो ओभरमै तीन चौका प्रहार गरेका थिए ।


धवन आउट भएपछि विजयले खेललाई नियन्त्रण लिए । उनले लोकेश राहुलसँग दोस्रो विकेटमा १ सय १२ रन जोडे । राहुलले ५४ रन बनाए । अहमादजाईले राहुललाई बोल्ड गरे । वफदारले विजयलाई एलबीडब्लु आउट गरी अफगानिस्तानको जोशलाई उजगार गरे । २६ ओभरमा १ सय २० रन खर्चेका खानले अर्का स्पिनर मुजिब उर रहमानसँग मिलेर कप्तान अजिन्क्या रहाने र चेतेश्वर पुजाराको विकेट लिए । राहनेलाई खानले १० रनमा एलबीडब्लु आउट गरे । पुजारा ३५ रन बनाई रहमानको बलमा आउट भए । दिनेश कार्तिक ४ रनमा रनआउट भए ।

खेलकुद

विश्वकपमा झुम्दै

- कान्तिपुर संवाददाता

काँकडभिट्टा (कास)– झापा काँकडभिट्टा युवा एन्जल खड्का अर्जेन्टिनी समर्थक हुन् । केही दिनदेखि उनी अर्जेन्टिनाको जर्सी लगाएर हिँडिरहेका छन् । एन्जलकै साथी अनीष
भने स्पेनका समर्थक हुन् । आफ्नो मोटरसाइकलमा स्पेनको झन्डा फहराउँदै हिँडेका उनी भन्छन्, ‘यो वर्षको विश्वकप स्पेन जित्नेमा म विश्वस्त छु ।’


एन्जल र अनीष प्रतिनिधिपात्र हुन् । विश्वकप फुटबलको प्रभावले झापामा कोही पनि अछुतो छैनन् । सीमा सहर काँकडभिट्टाको बाहुनडाँगी रोड र शान्तिमार्ग बेहुलीझैं सिंगारेका छन् स्थानीयले । स्थानीय युवा प्रवीन थापाले सिंगो विश्व फुटबलको महाकुम्भमा रमाइरहेका बेला आफ्नो सहरलाई समेत रंगीचंगी पारिएको बताए । उनका अनुसार प्रोजेक्टरमार्फत विश्वकपका प्रत्येक खेल देखाइने छ ।


झापाको देहाती गाउँ बाहुनडाँगीलाई पनि फुटबलको ज्वरोले गाँजेको छ । स्थानीय जेसिज र ग्रीन जेनेरेसन नामक संस्थाको अगुवाइमा टाउन हलमा उद्घाटनदेखि नै सवै खेल प्रत्यक्ष देखाइने प्रवन्ध मिलाइएको जेसिजका प्रवीन भण्डारीले बताए ।


झापाको दमक, बिर्तामोड, सुरुङगा, भद्रपुर, धुलाबारी आदि सहरमा पनि फुटवलको रौनक बढेको छ । स्थानीय व्यवसायीका अनुसार विश्वकपका कारण विभिन्न देशका जर्सी, झन्डा आदिको बिक्री हात्तै बढेको छ । धुलाबारीका व्यवसायी अजय घिमिरेका अनुसार महिना दिनयता धुलाबारीमा फुटबलसम्वन्धी सामानको बिक्री वढेको छ । उनले अर्जेन्टिना, ब्राजिल, स्पेन, फ्रान्स, जर्मनी, पोर्चुगल आदि देशका खेलाडीको जर्सी तथा झन्डाको बिक्री बढेको बताए ।


धाइजन–चारआली भेट्रान फुटबल क्लबले बिहीबार विश्वकपको स्वागतमा कन्काई नदीदेखि मेचीसम्म मोटरसाइकल र्‍याली आयोजना गर्‍यो । र्‍यालीमा विभिन्न देशको समर्थकको बाक्लो सहभागिता रहेको र्‍यालीका अगुवा आशिष वनले बताए । उनले फुटबलप्रति नेपाली युवालाई प्रेरित गर्न र विश्वकपको स्वागत गर्न र्‍याली गरिएको बताए ।

खेलकुद

विज्डमलाई डीसीए कप

- कान्तिपुर संवाददाता
डीसीए अन्तरस्कुल कप विजेता विज्डम एकेडमी टोली ।तस्बिर : मोहन बुढाऐर

धनगढी– डीसीए कप अन्तरस्कुल क्रिकेटको उपाधि विज्डम एकेडमी बैलारी, कञ्चनपुरले जितेको छ ।


धनगढीको फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनलमा विज्डमले ऐश्वर्य विद्या निकेतनलाई २६ रनले हराएको थियो । टस जितेको विज्डमले १ सय २७ रन बनाएको थियो । विद्या निकेतन १८.३ ओभरमा १ सय १ रनमै अलआउट भयो । विजडमका अजय चन्दले २२ र करण पुरीले २१ रन बनाए । ऐश्वर्यका लक्ष्मण भन्डारीले ३, निशान्त पन्तले २, करण र विमलले १–१ विकेट लिए ।


ऐश्वर्यका लागि वीरेन्द्रले ४२ र सुशील नाथले २५ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन्न । बलिङतर्फ आयुष विष्टले २, प्रतीक र अजयले १–१ विकेट लिए ।


धनगढी क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताका विजेताले ४० हजार र उपविजेताले २० हजार पुरस्कार पाए । धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर बडले पुरस्कृत गरे ।


म्यान अफ द सिरिज अभिषेक कुँवर, बेष्ट ब्याट्सम्यान सुशील नाथ, उदीमान खेलाडी सुशील पन्त भए । उनीहरू सबैलाई धनगढी एकेडेमीले मासिक शुल्कमा एकवर्षे छात्रवृति प्रदान गरेको छ ।


प्रतियोगितामा कैलाली र कञ्चनपुरका ३१ विद्यालयको सहभागिता थियो । धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाहीले क्रिकेटर उत्पादन गर्न एकेडमीले विद्यालय र क्लबस्तरीय प्रतियोगितालाई प्राथमिकता दिँदै आएको बताए ।

खेलकुद

रोश्मा र मोतीचन्द्र विजेता

- कान्तिपुर संवाददाता

तेह्रथुम (कास)– छथर गाउँपालिकाकाको शुक्रबारेमा भइरहेको गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराँतेतर्फ बिहीबार महिला एकल कातामा खोटाङकी रोश्मा राई विजयी भएकी छन् । तेह्रथुमकी सुमना राई र बुटवलका रश्मी पाण्डे र सदीक्षा श्रेष्ठ दोस्रा र तेस्रा भए ।


पुरुषतर्फ खोटाङकै मोतीचन्द्र राई विजयी भए । उनले बुटबलका विपराज थापालाई हराए । तेह्रथुमका मनकुमार राई र काठमाडौंका सुरेश तामाङ तेस्रो भए ।


त्यस्तै महिला ४० केजी तौलतर्फ उदीक्षा राई झापा र टुना राई खोटाङ फाइनल पुगेका छन् । ४५ केजीमा मकवानपुरकी कोपिला वुढाथोकी र खोटाङकी नन्जु राई फाइनल पुगे । ५० केजीको फाइनलमा मनीषा लिम्बु (तेह्रथुम) र इलिसा तामाङ (मकवानपुर), ५५ केजीको फाइनलमा दिव्यकला राई (खोटाङ) र मेनुका मगर (आयोजक) फाइनलमा पुगेका छन् ।


महिला ६१ केजीका फाइनलमा मकवानपुरकी अस्मिता प्रजा र खोटाङकी जस्मिना राई पुगे । ६८ केजीको फाइनलमा खोटाङकी सोना राई र तेह्रथुमकी सुमना राई भिड्ने छन् । ६८ केजी तौलमाथि खोटाङकी मिस्डोना राई र काठमाडौंकी रबिना लामा फाइनल पुगेका छन् ।

खेलकुद

थ्रीस्टारमाथि एपीएफको जित

लालबन्दी गोल्डकप
- अमन कोइराला

सर्लाही– लालबन्दी गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४–३ ले हराउँदै एपीएफ क्लब उपाधि नजिक पुगेको छ । पहिलो हाफको नवौं मिनेटमा एपीएफका श्याम नेपालीले हानेको फ्रि–किकमा रुपबहादुर लामाले हेडबाट गोल गरेका थिए । पहिलो गोलसँगै तीव्र गतिमा खेल्दै एपीएफले सिर्जना गरेको थियो । १४ औं मिनेटमा पेनाल्टी बक्स नजिक गोलकिपरको हातबाट फुस्केको बललाई कभर गर्दै रुपबहादुरको पासमा नवीन लामाले गोल गरेर अग्रता दोब्बर बनाए ।


दुई गोल खाएपछि दबाबमा थ्रीस्टारले आक्रामक खेल सुरु गरेको थियो । २३ औं मिनेटमा थ्रीस्टारका रन्जन विष्टको पासमा अजायी मार्टिनले पेनाल्टी बक्स नजिकैबाट हानेको प्रहार गोलमा परिणत भयो । मार्टिनले गरेको सुन्दर गोलसँगै थ्रीस्टारको मनोबल बढेको थियो ।

मध्यान्तरअघिको तीन मिनेट इन्ज्युरी टाइममा मार्टिनले रन्जनको पासमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।


पहिलो हाफ बराबर भएपछि दोस्रो हाफमा दुवै आक्रामक रणनीति लिएर मैदान उत्रिएका थिए । पहिलो मिनेटमै एपीएफका प्रवीण स्याङ्तानको पासमा युवराज खड्काले गोल गरेरलाई फेरि अग्रता दिलाए । ३१ औं मिनेटमा रामकुमार कुमालको पासमा प्रवीणले व्यक्तिगत दोस्रो गोल थप्दै जित सुनिश्चित पारेका थिए । त्यसको ६ मिनेटपछि थ्रीस्टारका बुद्ध चेम्जोङले लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भयो । थ्रीस्टारले बाँकी ७ मिनेटमा प्राप्त अवसर गुमाएपछि खेल एपीएफको पक्षमा ४–३ ले टुंगियो ।


एपीएफका नवीन लामा म्यान अफ द म्याच घोषित भए । एपीएफले शनिबार फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

खेलकुद

आर्मीको जित जारी

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– त्रिभुवन आर्मी क्लबको यू–१८ टोलीले ललित स्मृति यु–१८ फुटबलअन्तर्गत बिहीबार लगातार दोस्रो जित दर्ता गरेको छ । आर्मीले लुम्बिनी फुटबल क्लबलाई ४–० ले हराउँदा कप्तान दिनेश हेन्जनले उत्कृष्ट प्रदर्शन गरे । उनले २७ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाए । सुसन लामाले ४४ औं मिनेटमा अग्रता दोब्बर पारे । दोस्रो हाफमा दिपेश आलेमगर र रोशन थाम्सुहाङले गोल गर्दै जित पक्का गरे ।


दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) ले सरस्वती युथ क्लबलाई १–० ले हरायो । एनआरटीको जितमा रोजित पुडासैनीले ७५ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

खेलकुद

लालीगुराँस च्याम्पियन

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– आयोजक लालीगुराँस नेसनल एकेडेमी र एचएचसीएले चौथो लालीगुराँस अन्तरस्कुल बास्केटबल प्रतियोगिता च्याम्पियन भएका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा एचएचसीए सिनियर गल्र्समा च्याम्पियन बने । लालीगुराँसले महामञ्जुश्रीलाई ३७–३३ ले हरायो । प्रिन्स केसीले १५ स्कोर गरे । एचएचसीएले ग्रिनल्यान्डलाई २६–२० ले हरायो । अनिता सुनुवारले १५ स्कोर जाडिन् । लालीगुराँसका दिपेश क्षेत्री र एचएचसीएकी अनिता सुनुवार ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिए ।

खेलकुद

फेन्सिङ टोली बैंकक जाने

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– थाइल्यान्डको बैकंकमा जुन १७ देखि २३ सम्म हुने एसियन फेन्सिङ प्रतियोगितामा नेपाली टोलीले पनि भाग लिने भएको छ । त्यसका लागि टोली शुक्रबार त्यसतर्फ जानेछ । नेपालले साइबरको पुरुष तथा महिला तथा फोयल इभेन्टको पुरुष तथा महिलातर्फ गरी १२ खेलाडी सहभागी हुनेछ । प्रशिक्षकमा अनुप कपाली, अभिषेक कार्की, अफिसियलमा सुरज शाक्य, टिम म्यानेजरमा प्रवीण नापित, जनिन्द्रबहादुर शाही छन् । खेलाडीमा नुरबहादुर थापा, राजनराज खड्का, शेरसिंह ऐर, सन्जीव लामा, महेन्द्रप्रसाद भाट, दिनेश पाण्डेय, कमला श्रेष्ठ, रविना थापा, मीनादेवी पौडेल, अस्मिता बस्नते र मन्दिरा थापा छन् ।

खेलकुद

क्यारिना च्याम्पियन

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– क्यारिनाले तेस्रो बीभीएस अन्तरस्कुल ह्यान्डबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । बिहीबार क्यारिना यू–१६ ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन भयो ।


ब्वाइजमा क्यारिनाले हाइटफिल्ड र गल्र्समा क्रेसेन्टलाई हराए । ब्वाइजमा क्यारिनाका अस्लिम तामाङ र गल्र्समा क्रेसेन्टकी निरुता बुढामगर उत्कृष्ट खेलाडी चुनिए । यू–१४ ब्वाइजमा जोसेफले क्यारिनालाई हराएर उपाधि जित्यो । जोसेफका अजित श्रेष्ठ उत्कृष्ट भए ।

Page 13
समाचार

बिनाअध्ययन विश्वविद्यालय थपिँदै

- गणेश राई

काठमाडौं– सरकारले यसअघि स्थापित विश्वविद्यालयहरूलाई व्यवस्थित गर्न नसकिरहेका बेला थप विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमै ‘विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको’ उल्लेख छ ।


उक्त विश्वविद्यालय कहाँ रहने भन्ने टुंगो भइसकेको छैन । पूर्वी नेपालको भोजपुरकी योगमाया न्यौपाने सामाजिक कुरीतिविरुद्धकी अभियन्ता हुन् । उनीसहितका महिलाले सामूहिक जलसमाधि लिएका थिए । भाषाशास्त्री प्राध्यापक नोबलकिशोर राईले हचुवाका भरमा विश्वविद्यालय खोल्ने सरकारको निर्णय अपरिपक्व रहेको बताए । ‘विश्वविद्यालय विश्वकै ज्ञानसँगै जोडिएको विषय भए पनि बिनाअध्ययन कार्यान्वयन हुने गरेको छ,’ सरकारको एक रातको निर्णय ज्यादै खेलाँचीजस्तो हुने गरेको उल्लेख गर्दै राईले भने, ‘कुन ठाउँमा कस्तो विश्वविद्यालय आवश्यक छ भनेर कम्तीमा पाँच वर्ष पूर्वतयारी, अध्ययन, अनुसन्धान गर्नुपर्छ ।’
शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले कुन तहको विश्वविद्यालय खोल्न लागेको हो, स्पष्ट पार्न जरुरी रहेको बताए । ‘खुल्न लागेको विश्वविद्यालय राष्ट्रिय, प्रदेश वा मानितमध्ये कुन हो, टुंगो गर्नुपर्छ,’ विश्वविद्यालय अनुदान आयोगले त्रिवि र नेपाल संस्कृतलाई मात्र राष्ट्रिय विश्वविद्यालयका रूपमा लिएको उल्लेख गर्दै उनले भने, ‘अब धेरै विश्वविद्यालय आउने सम्भावना छ तर मापदण्ड स्पष्ट नहुँदा अन्योल छाएको छ । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयले आफूलाई राष्ट्रिय भन्न चाहन्छन् तर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय बनाउन चाहेका छन् । यसरी द्वन्द्व सिर्जना गरिँदा विश्वविद्यालयको औचित्य संकटमा पर्छ ।’ बजेट भाषणमा उच्च शिक्षालाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी, विशिष्टीकृत र अन्वेषणमुखी बनाउन विश्वविद्यालयलाई क्रमश: उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गरिने उल्लेख छ । ‘सामुदायिक क्षेत्रले यस्तो विश्वविद्यालय स्थापना गर्न चाहे नेपाल सरकारले आवश्यक सहयोग गर्ने छ,’ बजेट वक्तव्यमा छ, ‘खुला विश्वविद्यालय तथा वैकल्पिक शिक्षा प्रणाली विस्तार गरिनेछ ।’


स्रोतका अनुसार विश्वविद्यालयका केही पूर्वउपकुलपति लगायतले सामुदायिक विश्वविद्यालय स्थापनाको प्रस्ताव अघि बढाएकाले सरकारले बजेट भाषणमै उक्त विषय समेटेको हो । ‘भएका विश्वविद्यालयलाई पनि सुधार गर्ने हो,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘सरकारले सार्वजनिक विश्वविद्यालयलाई जोड दिनेछ । सार्वजनिक विश्वविद्यालय खोल्नेलाई उत्प्रेरित गर्छौं । देशले माग गरेका आधारमा विश्वविद्यालय खुल्दै जान्छन् ।’ विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लगिने, प्राध्यापकलाई अनुसन्धान र शैक्षिक उन्नयनमा संलग्न गराइने उनले बताए ।


विश्वविद्यालयलाई प्रदान गरिने अनुदानलाई कार्यसम्पादन र नतिजामा आधारित बनाउने र लामो समयदेखि चर्चामा रहेको विश्वविद्यालय छाता ऐन ल्याउने विषयलाई पनि बजेटमार्फत सम्बोधन गरिएको छ ।


त्रिभुवन, नेपाल संस्कृत, काठमाडौं, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, कृषि तथा वन, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालनमा छन् भने सरकारले पछिल्लो पटक काठमाडौंमा खुला विश्वविद्यालय र जनकपुरमा राजर्षि जनक विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । सरकारले नयाँ खुलेका कतिपय विश्वविद्यालयलाई त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसकै सम्पत्ति र जनशक्ति भोगचलन गर्न दिएपछि समस्या उब्जिएको छ । त्रिविले आफूमातहत सम्पत्ति जोगाउन कानुनी उपचारको बाटो रोजेको छ ।

समाचार

‘निजी वनका साल काट्न दिऔँ’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– व्यक्तिका वनमा भएका सालका रूख काट्न लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ । ‘वन क्षेत्रबाट हुने काठ/दाउरा संकलन एवं वितरण सम्बन्धमा सुझाव पेस गर्न गठित कार्यदल’ ले वन तथा वातावरण मन्त्रालयलाई त्यस्तो सुझाव दिएको हो । देशभरिका निजी वनमा काट्न योग्य लाखौं सालका रूख भए पनि सरकारले काट्न प्रतिबन्ध लगाएको छ । कटानीमा प्रतिबन्ध लगाइएकामा निजी वन प्रवद्र्धकहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।


वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘निजी वनबाट उत्पादित हुने काठको कटानी, ओसारपसार र बिक्रीवितरण सहज तुल्याउन सरल कानुनी व्यवस्था गर्ने आफ्नो कार्ययोजना डेढ महिनाअघि सार्वजनिक गरेका थिए । उनको कार्ययोजनामा वैज्ञानिक वन व्यवस्थापनमार्फत वार्षिक ६० लाख घनफिट काठ उत्पादन गर्ने र त्यसका लागि निजी वनबाट काठ उत्पादनमा अभिवृद्धि गर्नेसमेत उल्लेख छ । नेपाल वन पैदावार व्यवसायी महासंघ (फेनफिट) ले काठदाउरा बिक्रीवितरण एवं सर्वसुलभ तवरले उपलब्ध गराउन नीतिगत संशोधनको माग गर्दै निवेदन दिएपछि मन्त्रालयले तत्कालीन वन उद्यम तथा व्यवस्थापन महाशाखा प्रमुख चन्द्रमान डंगोलको संयोजकत्वमा ४ सदस्यीय कार्यदल बनाएको थियो ।


कार्यदलमा वन विभागका उपसचिव राकेश कर्ण, मन्त्रालयका तत्कालीन कानुन उपसचिव वशिष्टकुमार घिमिरे, मन्त्रालयका सहायक वन अधिकृत लोकनाथ घिमिरे र फेनफिटका प्रथम उपाध्यक्ष भूपेन्द्र चौलागाईं सदस्य थिए । उनीहरूले विद्यमान नीति, निर्देशन र व्यावहारिक पक्षको विश्लेषण गर्दै सरकारलाई सुझाव दिएका हुन् । कार्यदलले काठको उत्पादन बढाउन तुरुन्तै हुने, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन सुधारका कार्यक्रमसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको छ ।


कार्यदलले वन पैदावर मुद्दामा रहेका देशभरका काठ लिलाम गर्नसमेत सुझाएको छ । यस्तै, उपभोक्तालाई सस्तो दरमा काठ उपलब्ध गराउन निजी क्षेत्रका व्यवसायीलाई पनि टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन) लाई दिएसरहको व्यवस्था गर्न सुझाइएको छ ।

समाचार

हिमाली जिल्लामा बिहानी कक्षा

- कान्तिपुर संवाददाता

मुगु– हिमाली जिल्ला मुगुमा अत्यधिक गर्मी बढेपछि यहाँका विद्यालयले बिहानी कक्षा सञ्चालन गर्न थालेका छन् । दिउँसो कक्षा सञ्चालन गर्दा गर्मीका कारण विद्यार्थीमा विभिन्न स्वास्थ्य
समस्या आउन थालेपछि बिहान सुरु गरिएको हो ।


गर्मीका कारण विद्यार्थीमा बेहोस हुने, अल्छी लाग्ने, ज्वरो आउनेलगायत समस्या देखिएपछि विद्यालय बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुन थालेका हुन् । खत्याड गाउँपालिकाको लोकप्रिय मावि गम्था, महादेवमष्ट मावि रातापानी, सर्वोदय मावि सुकाढिक लगायतका विद्यालयले बिहानी कक्षा सञ्चालन गरेका छन् । गर्मीले दिउँसो अध्यापन गर्न समस्या आएपछि बिहान सञ्चालन गरिएको लोकप्रिय मावि गम्थाका शिक्षक युवानन्द रावलले बताए ।


सोरु गाउँपालिकाका विद्यालयमा पनि बिहानी कक्षा सञ्चालन गरिएको छ । मुगुको तापक्रम ३३ डिग्री सेन्टिग्रेडसम्म पुगेको गमगढी तापक्रम मापन केन्द्रले जनाएको छ । बिहानी कक्षा सञ्चालन गरिएपछि विद्यार्थीको उपस्थिति बढेको छ ।

Page 14
समाचार

११ वर्ष पुगेपछि बल्ल स्कुल

खोला र भीर छिचोलेर तीन घण्टा टाढाको विद्यालय जानुपर्ने भएकाले अभिभावक नै चाँडै पठाउँदैनन्
- अनिश तिवारी
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ तातोपानीस्थित राङबुसा गाउँका बालबालिका चौकीडाँडास्थित स्कुल जाने क्रममा खोला तर्दै ।
तस्बिर : कान्तिपुर

राङबुसा (सिन्धुपाल्चोक)– भोटेकोसी गाउँपालिका–२ तातोपानीस्थित राङबुसा बस्तीका बालबालिका उमेर पुगेको लामो समयसम्म पनि पढ्न पाउँदैनन् । ११ वर्षभन्दा अघि कक्षा टेक्ने विरलै छन् । कारण हो– नजिकै विद्यालय नहुनु । तातोपानी सीमावर्ती बजारसम्मै फैलिए पनि राङबुसा भने विकट छ । यहाँबाट विद्यालय भेट्न कम्तीमा तीन घण्टा हिँड्नुपर्छ । पुलबिनाका थुप्रै खोला अनि सुख्खा पहिरो छल्दै भीर छिचोल्नुपर्छ । त्यसैले बालबालिका खोला र भीर
छल्न सक्ने नहुँदासम्म अभिभावकले नै विद्यालय पठाउँदैनन् ।


राङबुसाबाट तातोपानीस्थित चौकीडाँडाको कोदारी माध्यमिक विद्यालय पुग्नुको विकल्प छैन । ‘पढ्न जान धेरै दु:ख छ, आउँदा–जाँदाको थकाइले बिरामी नै परिन्छ,’ दैनिक ३ घण्टा हिंडेर चौकीडाँडा पुग्ने १८ वर्षीया सञ्चलक्ष्मी थामीले भनिन्, ‘एसईई पास भइसक्ने बेला बल्ल ९ कक्षा पुगेकी छु ।’ बुबाआमाले सानो उमेरमा टाढाको विद्यालय नपठाएकाले भर्ना नै ढिलो भएको उनले सुनाइन् । ‘मेरै उमेरका अरूले एसईई दिइसके, कतिले त एघार पढ्न थालिसके,’ उनले भनिन् । सञ्चलक्ष्मीका अनुसार बाटोमा लिपिङ, राङबुसा, खर्कलगायतका आधा दर्जन खोलाखोल्सी पार गर्नुपर्छ । बर्खामा ती पार गर्न सम्भवै हुँदैन । त्यसैले उनीहरू पढ्नै जाँदैनन् । बाढीको त डर छँदै छ, भास्सिएको भीर कतिखेर खस्ने हो, पत्तो हुँदैन । खोला तर्दा पानी कम्मरसम्म आइपुग्ने भएकाले बालबालिका विद्यालय पोसाक पनि झोलाभित्रै कोच्छन् । विद्यालयछेउ पुगेपछि भिजेका लुगा फुकालेर विद्यालय पोसाक लगाउँछन् । अहिले राङबुसाबाट विद्यालय जाने ३० जना छन् । कतिपय बालबालिका बाटोकै पीरले गएका छैनन् । ‘पढ्न जान समस्या नै समस्या छ,’ सांगे थामीले भने, ‘टाढा छ, कहिलेकाहीँ त भोकभोकै हिंड्नुपर्छ ।’ गाउँका अधिकांशले विद्यालय टाढा भएकै कारणले पढाइसमेत छाडेको उनले बताए । ‘म त जति कष्ट सहेर भए पनि पढ्छु , धेरै पढेर जागिर खाई खोलामा पुल हाल्छु, गाउँसम्म पुग्ने बाटो बनाउँछु,’ उनले भने ।


स्थानीय सुनवीर तामाङका अनुसार लामो यात्रा तथा खोला र भीरका कारण अभिभावकले बालबालिकालाई चाँडै विद्यालय पठाउन मान्दैनन् । ‘विद्यालय टाढा छ, ठूलो चुनौती खोला तर्नकै छ,’ उनले भने, ‘खोला तर्न सक्ने उमेर भएपछि मात्र पठाउने गरिएको छ ।’


गाउँमा विद्यालय जाने उमेरका धेरै बालबालिका पढाइबाट वञ्चित छन् । बालबालिका विद्यालयबाहिर हुँदाहुँदै छिटो र पहिलो हुने होडमा २०७१ असार २ मा भव्य कार्यक्रमसाथ सिंगो जिल्लालाई साक्षर घोषणा गरियो । लाखौं खर्चेर गरिएको घोषणाबारे विकटका स्थानीय अहिलेसम्म जानकार छैनन् ।


राङबुसा बस्तीमा ७ महिनामात्र पाखोबारीको अन्नले खान पुग्छ । त्यसपछिको ५ महिना अनिकाल सामना गर्नुको विकल्प हुँदैन । बालबालिका भोकभोकै विद्यालय जान्छन् । ‘छोराछोरीलाई सानै उमेरदेखि पढाउन मन लागे पनि बाध्यताले सकिएको छैन,’ ज्ञानबहादुर थामीले भने, ‘पाखोको बसाइ छ, बाटो गतिलो छैन । खोलो, भीर भएकाले विद्यालय पठाउन मनै मान्दैन ।’ टाढा जान नसक्ने बालबच्चाका लागि गाउँमै कक्षा चलाइए धेरै सहज हुने थामीको भनाइ छ । गाउँमा एसईईसम्म पढ्ने बालबालिकाको संख्या निकै कम छ । अधिकांशले पढ्दापढ्दै बीचैमा छाडेका छन् ।


यही कारणले अन्य गाउँका आफूभन्दा कम उमेरका सँगै एउटै कक्षामा पढ्नुपर्दा राङबुसाका बालबालिकाले हीनताबोध महसुस गर्ने गरेको कोदारी माविका प्रधानाध्यापक नइन्द्र तामाङले बताए । ‘यस्तो नहोस् भनेर समय–समयमा परामर्श दिने गरेका छौं,’ उनले भने ।

समाचार

युवालाई ‘सुरक्षा तालिम’ आलोचित

- कान्तिपुर संवाददाता

सुर्खेत (कास)– कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको बुँदा नं. ७७ मा लेखिएको छ– १८ वर्ष पुगेपछि एक वर्ष ‘अनिवार्य’ शारीरिक तन्दुरुस्ती तथा सामाजिक सुरक्षा तालिम लिने व्यवस्था मिलाइनेछ । यो नीतिको नियत जेसुकै भए पनि सत्तापक्ष र प्रतिपक्षी सांसद नै यसबाट झस्किएका छन् ।


‘पढ्ने–लेख्ने र जागिर गर्ने उमेरका युवालाई सुरक्षा तालिम दिएर के गर्न खोजिएको हो ?,’ मंगलबारको संसद् बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘युवालाई लडाकु बनाउन खोज्ने मनसायबाट आएको यो नीति मान्य छैन ।’ उनले यसको सट्टा युवालाई स्तरीय शिक्षा र रोजगारी कसरी दिन सकिन्छ भन्नेबारे सोच्न सरकारलाई सुझाए ।
विपक्षीमात्र होइन, सत्ता पक्षकै सांसदसमेत यो नीतिको उद्देश्यबारे अन्योल व्यक्त गर्छन् ।

नेकपाका सांसद सुशीलकुमार थापाले सामाजिक सुरक्षा र शारीरिक तन्दुरुस्तीजस्ता कुरा राम्रो भए पनि ‘अनिवार्य’ शब्द अनुपयुक्त रहेको बताए । उनले यस्तो तालिम विद्यालय वा बाहिर, कहाँ सञ्चालन गर्ने भन्नेबारे पनि अस्पष्टता रहेको बताए । ‘यो तालिमलाई विद्यालय शिक्षामा कुनै कोर्स बनाएर व्यावहारिक रूपमा दिन खोजिएको हो वा सुरक्षाकर्मीलाई झैं परेड शैलीमा दिन खोजिएको हो, स्पष्ट भएन,’ उनले भने, ‘युवाको भविष्यमाथि प्रभाव पार्ने यस्ता नीति हचुवाको भरमा हैन, धेरै सोचविचार गरेर ल्याउनुपर्छ ।’


नीति तथा कार्यक्रम सार्वजनिक भएको चार दिनमै नीतिसँग सरोकार राख्ने सामाजिक विकास मन्त्रालयसमेत ‘अनिवार्य’ प्रावधानबारे सोच्ने अवस्थामा पुगेको छ । ‘सुरुमै अनिवार्य भन्ने त सम्भव होला–नहोला तर युवालाई यतातिर लगाउन सकिए राम्रै हुन्छ,’ सामाजिक विकासमन्त्री दल रावलले भने, ‘यसको उद्देश्य युवालाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नु हो ।’ उनले लड्नेभिड्नेभन्दा पनि आत्मसुरक्षा र समाजको पहरेदारी गर्ने जिम्मेवार नागरिक बनाउन यस्तो तालिमको व्यवस्था गरिएको बताए ।

समाचार

चन्दा उठाएर वृद्धाश्रम

२८ कोठे पक्की भवनमा ५५ जना ज्येष्ठ नागरिकले आश्रय पाएका छन्
- जितेन्द्र साह

विराटनगर– शिक्षण सेवाबाट अवकाशप्राप्त वृद्ध जगतप्रसाद अज्र्यालले दशकअघि पाँच–पाँच रुपैयाँ चन्दा संकलन गरी वृद्धाश्रम बनाउने र नागरिक समाजसँग दैनिक एक–एक रुपैयाँ मागेर आश्रितलाई भोजन गराउने योजना सुनाउँदा धेरैले पत्याएका थिएनन् । कतिले त उनलाई हाँसोमा उडाए । धेरैले पैसा उठाएर भाग्छ पनि भने ।


विराटनगर पाञ्चालीका ७४ वर्षीय अज्र्याल त्यही सानो–सानो सहयोगले विराटनगर–८ मा १२ कट्ठा जग्गा किनी विराटेश्वर वृद्धाश्रम खडा गर्न सफल भएका छन् । आश्रमको २८ कोठे पक्की भवनमा २८ वृद्धासहित ५५ जनाले शरण लिइरहेका छन् । उनीहरूले बिहानदेखि रातिसम्म चारपटक शुद्ध शाकाहारी भोजन पाउँछन् । आश्रममा १ सय १० व्यक्ति अटाउन सक्छन् । १४/१४ कोठाका दुई भवनमध्ये एउटाचाहिँ करिब एक करोड रुपैयाँ खर्चेर अन्तर्राष्ट्रिय लायन्स क्लबले बनाइदिएको हो । हरेक कोठामा शौचालय सुविधा भएको अर्को भवन भने चन्दाबाट उठेको ९२ लाख रुपैयाँ लागत र श्रमदानमा बनाइएको हो । आश्रय लिएकामध्ये अधिकांश असहाय छन् । १३ वर्षयता बिहानदेखि बेलुकासम्म सेवामा सक्रिय अज्र्याल आश्रमका लागि सहयोग जुटाउन साइकलमा यताउता गुडिरहन्छन् । साइकलको अघिल्तिरको साइनबोर्डमा मोबाइल नम्बरसहित पाँच रुपैयाँ र एक रुपैयाँ अभियानबारे जानकारी दिइएको छ । ‘अब हाम्रो आश्रमले पाँच सय वृद्धवृद्धालाई पाल्न सक्छ,’ उनले भने । अज्र्यालले २०६२ भदौ ७ मा विराटनगरको रोडसेस चोकमा दुई हजार रुपैयाँमा कोठा भाडा लिई सेवा सुरु गरेका थिए ।


४२ वर्ष सेवापछि शिक्षण पेसाबाट अवकाश पाएका अज्र्यालका लागि वृद्धाश्रमको सपना साकार पार्नु सहज थिएन । श्रीमती, भाइहरू, छोरी र अमेरिकामा रहेका छोराबुहारीले साथ दिएपछि उनको हौसला बढेको हो । आश्रमका तीन नेत्रहीन ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी उनकी ६३ वर्षीया श्रीमती प्रमिलाकुमारीले लिइरहेकी छन् । अदालतको जागिरबाट अवकाशप्राप्त कान्छा भाइ ७२ वर्षीय विनोद पनि वृद्धाश्रममा सेवारत छन् । ‘पाँच रुपैयाँ सहयोगले पनि वृद्धाश्रम बन्छ भन्दै पहिले मुख खुम्च्याउनेहरू अहिले छक्क पर्छन्,’ उनले भने । अज्र्यालले ८ वर्ष लगाएर हजारौं नागरिकबाट पाँच रुपैयाँका दरले ६३ लाख रुपैयाँ जम्मा पारेका हुन् । ‘रकम उठाएर भाग्छन् र सफल हुँदैनन् भन्नेहरू धेरै थिए,’ उनले भने । वृद्धाश्रमको आधारशिला खडा गर्न उनी जनसम्पर्क गर्दै भारत, अमेरिका, क्यानडा र अस्ट्ेरलियासम्म पुगे । अज्र्यालले संकलित रकमले १२ कट्ठा जमिन किने । आश्रम तयार भइसकेपछि वृद्धवृद्धाका लागि नियमित भोजन एवं स्याहारसुसारको पनि आवश्यकता थियो । उनले एक हजार नागरिकले दिनमा एक रुपैयाँ दिए सय जनालाई जाउलो खुवाउन पुग्छ भन्दै २०६३ फागुन ७ मा ‘एक रुपैयाँ दान अभियान’ सुरु गरेका थिए । अज्र्यालका अनुसार सम्पन्नदेखि विपन्नसम्मले हातेमालो गरेको यो अभियानबाट उठेको रकमले ज्येष्ठ नागरिकहरूलाई मजाले खान, बस्न पुगेको छ । वृद्धाश्रमका नाउँमा खोलिएको बैंक खातामा हजारौं दाताहरूले दैनिक एक रुपैयाँका दरले वार्षिक एकमुष्ट जम्मा गर्ने गरेका छन् ।

समाचार

उखु कृषकलाई ऋणको भारी

एभरेस्ट चिनी उद्योगले नेपाली कृषकको १ अर्ब ७७ करोड ९९ लाख ७२ हजार ७ सय ९१ रुपैयाँ भुक्तानी गर्न बाँकी छ
- सन्तोष सिंह

धनुषा– महोत्तरी, गौशाला नगरपालिका–११ कालिपुरका श्याम महतोले उखु बेचेर छोरीको बिहे गरिदिने योजना बनाएका थिए । त्यसका लागि उनले दुई बिघामा लगाएको करिब ६ सय क्विन्टल उखु गत माघमा एभरेस्ट चिनी उद्योगलाई बेचे । तर, उद्योगले बेलैमा भुक्तानी दिएन । उनले ३६ प्रतिशत ब्याजमा ऋण लिएर फागुनमा छोरीको बिहे गरे ।


श्यामले अझै पनि उखुको भुक्तानी पाउन सकेका छैनन् । ऋणको ब्याज तिर्नसमेत मुस्किल परिरहेको उनको गुनासो छ ।


कालिपुरकै उपेन्द्र महतोले पनि एभरेस्टबाट २ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । उनले पनि वैशाखमा छोरीको विवाहका लागि कर्जा लिएका थिए । उखुको भुक्तानी नपाउँदा ऋण तिर्न नसकेको उनले बताए ।


गौशाला नगरपालिका–१२ परडियाका विद्यानन्द यादवले उखुको भुक्तानी नपाउँदा छोराको कलेज शुल्क बुझाउन सकेका छैनन् । एभरेस्टलाई माघमै ७ सय क्विन्टल उखु बेचेका उनले करिब ४ लाख रुपैयाँ लिन बाँकी छ ।


‘किसानको उखुबाट चिनी उत्पादन गरी कमाएको पैसा उद्योगपतिले अन्तै प्रयोग गर्दा हामी ऋणको भारी बोक्न बाध्य छौं,’ विद्यानन्दले भने, ‘नगदे बाली उखु अब किसानलाई ऋणी बनाउने खेतीमा परिणत भएको छ । घरपरिवार चलाउनै समस्या छ ।’ दलाल परिचालन गरी भारतबाट नगदमा उखु खरिद गर्ने चिनी उद्योगले नेपाली कृषकको भुक्तानी भने ५ महिनादेखि रोकिराखेका छन् । यी उद्योगले भारतीय कृषकबाट २ सयदेखि ३ सय क्विन्टलसम्म उखु झन्डै ३ सय रुपैयाँ कममा खरिद गरेका थिए । एभरेस्टले समयमा भुक्तानी गर्नुको साटो उक्त रकमको ब्याज खाएर नेपाली किसानलाई अन्याय गरिरहेको कृषक मन्नु अधिकारी बताउँछन् ।


एभरेस्ट सुगर मिलले किसानको १ अर्ब ७७ करोड ९९ लाख ७२ हजार ७ सय ९१ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक किसान संघ महोत्तरीले जनाएको छ । गत सिजनमा एभरेस्टले ४३ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको थियो । उद्योगले पुस २९ गतेसम्म खरिद गरिएको उखुको २ अर्ब २२ करोड १५ लाख ६७ हजार ४ सय रुपैयाँमध्ये ४४ करोड १५ लाख ९४ हजार ६ सय ९ रुपैयाँ मात्र भुक्तानी दिएको संघले जनाएको छ ।


किसानलाई वार्ताका लागि पत्र
एभरेस्ट चिनी उद्योगको प्रधान कार्यालय जनकपुरले उखु उत्पादक संघलाई बुधबार वार्ताका लागि आहान गरेको छ । संघले तत्काल भुक्तानी माग्दै गत जेठ ६ देखि रामनगरस्थित चिनी उद्योगमा तालाबन्दी गरको थियो ।


किसानले धर्ना दिएको लामो समयसम्म पनि उद्योगले चासो नदिएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एक साताभित्र भुक्तानी नगरे उद्योगीलाई हतकडी लगाउने चेतावनी दिएका थिए । मन्त्रीको यस्तो प्रतिबद्धतापछि संघले तालाबन्दी यथावत् राखेर धर्ना स्थगित गरेको थियो । उद्योगबाट वार्ताको पत्र आए पनि किसानले वार्ता नगर्ने जनाएका छन् । संघको बिहीबार बसेको बैठकले मन्त्रीले एक साताभित्र एकमुष्ट रकम उपलब्ध गराउने मौखिक सहमति गरेको भन्दै तत्काल ताला नखोल्ने र वार्ता पनि नगर्ने निर्णय लिएको हो । ‘अब भुक्तानी गर्नुको विकल्प छैन,’ संघका सचिव सञ्जयकुमार ठाकुरले भने, ‘त्यसैले वार्तामा नबस्ने निर्णय गरेका हौं ।’

समाचार

सुन तस्करीमा तीन वर्ष कैद

- कान्तिपुर संवाददाता

रसुवा (कास)– जिल्ला अदालत रसुवाले सुन तस्करी मुद्दामा दुई जनालाई कैद फैसला गरेको छ । मंसिर २ गते प्रहरीले १७ किलो अवैध सुनसहित आमाछोदिङमो गाउँपालिका–५ का कर्साङ दावा तामाङ र गोसाइँकुण्ड गाउँपालिका–१ का लाक्पा तामाङलाई पक्राउ गरी मुद्दा चलाएको थियो । भन्सार ऐन, २०६४ बमोजिम कसुर ठहर गर्दै जिल्ला अदालतले उनीहरूलाई जरिवानासहित कैद फैसला गरेको स्रेस्तेदार विश्वास सुनुवारले बताए । जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले गरेको फैसलामा कर्साङ दावालाई ३ वर्ष कैद र ८ करोड १४ लाख ९८ हजार जरिवाना तोकिएको छ । त्यस्तै लाक्पा तामाङलाई १ वर्ष कैद तोकिएको छ । सुन ओसार्न प्रयोग भएको बा११च ७९१८ नम्बरको बोलेरो जिप पनि जफत गरिएको अदालतले जनाएको छ । चीनको केरुङबाट बोलेरो जिपमा सुन लुकाएर ल्याउँदै गर्दा सीमा प्रहरी चौकी टिमुरेले तामाङद्वयलाई रसुवागढी नाकाबाट पक्राउ गरेको थियो ।

 

समाचार

विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

छोटकरी
- कान्तिपुर संवाददाता

सुर्खेत (कास)– पेट्रोलियम मूल्यवृद्धिविरुद्ध नेविसंघले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा केन्द्रीय सदस्य अनिल शाही र नेता गौतम बीसी घाइते भएका छन् । प्रहरीले अर्का केन्द्रीय सदस्य हरि शर्मालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी ओलीको पुतला दहन गर्ने क्रममा साँझ ५ बजेतिर वीरेन्द्रचोकमा भेला भएका विद्यार्थीमाथि प्रहरीले अन्धाधुन्ध आक्रमण गरेको थियो । त्यसपछि प्रदर्शन गर्दै हटियालाइनस्थित पार्टी कार्यालय पुगेका विद्यार्थीलाई प्रहरी निरीक्षक शंकर श्रेष्ठ नेतृत्वको टोलीले भवनभित्रै पसेर पक्राउ गर्न खोजेको थियो । पार्टी जिल्ला सभापति कमलराज रेग्मी, नेता विष्णुबहादुर खड्कासहितको टोली प्रतिकारमा उत्रेपछि प्रहरी बाहिरिएको थियो । नेविसंघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका इकाई अध्यक्ष यज्ञबहादुर राम्जालीले शान्तिपूर्ण आन्दोलनलाई सरकारले तानाशाही शैलीमा दमन गर्न खोजेको आरोप लगाए ।

समाचार

कांग्रेस भेलाको तयारी तीव्र

छोटकरी
- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– असार ५ देखि ७ गतेसम्म हेटौंडामा हुने कांग्रेस जिल्ला सभापतिको भेलाको तयारी तीव्र पारिएको छ । भेलाको व्यवस्थापन गरिरहेको कांग्रेस मकवानपुरले पत्रकार सम्मेलन गरेर सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । भेला तयारी समितिका प्रचारप्रसार संयोजक प्रदीप कोइरालाले खाजा, खाना, आवास, प्रदेश समन्वय, अतिथि समन्वय, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतका ११ समिति/उपसमिति संयोजक तोकेर तयारी तीव्र पारिएको बताए । उनका अनुसार, ७७ जिल्लाका सभापति र केन्द्रीय समितिसँग सम्पर्क
भइसकेको छ ।

समाचार

नयाँ दलको तदर्थ समिति

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ‘नेपाल प्रजातान्त्रिक पार्टी’ नाममा नयाँ दल दर्ता प्रक्रियामा गएको छ । विराटनगरमा हालै भएको राष्ट्रिय भेलाले रामचन्द्र क्षत्रीको संयोजकत्वमा तदर्थ समिति बनाई विधान निर्माण प्रक्रिया सुरु भएको हो । समितिमा उपाध्यक्षहरू विनोद यादव, यमानन्द जीसी, देवेन्द्र आलोक, यशोदा दाहाल, महासचिव सुरेन्द्रकुमार कार्की, सचिवद्वय कान्तबहादुर पौडेल, रवीन्द्र फुयाल, कोषाध्यक्ष कर्णबहादुर केसी, सहकोषाध्यक्ष जीवछ चौधरीलगायत २९ जना छन् ।

 

Page 15
अर्थ वाणिज्य

खाडीमा नेपाली कामदार: राम्रा कम्पनीमा मात्रै पठाइने

न्यूनतम तलब र आधारभूत अधिकार नदिने, पुराना कामदारलाई समस्यामा पारेका कम्पनीको मागपत्र स्वीकृत नहुने
कामदार अलपत्र पार्ने म्यानपावरका नयाँ मागपत्र रोकिए
- होम कार्की

काठमाडौं– खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् ।


साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताए । ‘जुन कम्पनीले नेपाल सरकारले तोकेको न्यूनतम तलब निर्धारण गरेको छ । नेपाली कामदारले समस्या भोगेका छैनन्, त्यस्तोलाई मात्रै कामदार ल्याउन अनुमति दिन थालेका छौं,’ शर्माले भने ।


शर्माका अनुसार साउदीमा कामदार अलपत्र बनाउने म्यानपावरको नयाँ डिमान्डसमेत रोकिएको छ । ‘जुन म्यानपावरले ल्याएका कामदार समस्यामा छन् र उसले अर्को कम्पनीको डिमान्ड ल्याएर अनुमति मागेको अवस्थामा कामदार ल्याउने अनुमति दिइएको छैन,’ उनले भने ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख ३१ देखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका’ कार्यान्वयन गर्न नेपाली दूतावासलाई अख्तियारी दिएपछि कम्पनी र म्यानपावरमाथि कडाइ गर्न थालिएको हो । नेपाली दूतावासलाई विश्वास लाग्ने कागजात पेस गरे मात्रै रोजगारदाताले नेपाली कामदार लैजान पाउनेछन् । निर्देशिकाअनुसार रोजगारदाताले दूतावाससमक्ष कार्यरत नेपाली कामदारको अवस्था, उनीहरूको पछिल्लो तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाताको वैधानिकता, श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार माग गर्न दिइएको स्वीकृतिजस्ता कागजात पेस गर्नुपर्छ । यसबाहेक दूतावासले थप कागजात पनि माग्न सक्छ ।


निर्देशिकाअनुसार अब नेपाली कामदार लैजाने कम्पनी मागपत्र प्रमाणीकरण गर्न आफैं नेपाली दूतावास पुग्नुपर्छ । दूतावासले मागपत्र प्रमाणीकरण/अभिलेख नगरेसम्म कामदार ल्याउने प्रक्रिया सुरु हुँदैन । ‘हामीले कतारका कम्पनीलाई तीन तहमा वर्गीकरण गरेका छौं । भिसा, टिकटको खर्च बेहोर्नुका साथै म्यानपावरलाई सेवा शुल्क दिने कम्पनीलाई कामदार ल्याउन तुरुन्तै अनुमति दिन्छौं । भिसा र टिकट खर्च बेहोर्ने तर म्यानपावरलाई सेवा शुल्क नदिने रोजगारदातालाई दुई दिनभित्र अनुमति दिनेछौं । नयाँ कम्पनीको हकमा भने १० दिनको समय लिन्छौं,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘धेरैजसो कम्पनीको अवस्था बुझ्न फिल्ड अनुगमनसमेत गरिएको छ ।’


मागपत्र दूतावासबाट मात्रै प्रमाणीकरण हुने भएपछि रोजगारदाता कम्पनी दूतावासप्रति गम्भीर देखिन थालेका छन् । ‘कुनै कम्पनीमा पुराना नेपाली कामदारको समस्या छ भने त्यो समाधान नगरेसम्म नयाँ कामदार लान पाउने स्थिति अब छैन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘अहिले दूतावास र कम्पनीबीच सीधा सम्पर्क कायम हुन थालेको छ ।’


प्रमाणीकरणले रोजगारदाता कम्पनीबाट नेपाली कामदारले तलब, सेवासुविधा पाउने ग्यारेन्टी हुने स्थिति बनेको छ । खाडी देशमध्ये कतारले मात्रै न्यूनतम तलब ७ सय ५० रियाल तोकेको छ । अरू देशले कामदार र कम्पनीबीच जति सम्झौता हुन्छ, त्यति नै तलब दिलाउने जिम्मेवारी लिन्छन् । नेपाल सरकारले भने खानाबाहेक कामदारको न्यूनतम तलब करिब २५ हजार रुपैयाँ निर्धारण गरेको छ । ‘आर्थिक अवस्था बलियो भएका कम्पनीमा मात्रै कामदार आइपुग्छन्,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने, ‘जस्तो
पायो उस्तै कम्पनीमा आउने स्थिति बन्द हुन्छ ।’


यसअघि रोजगारदाता कम्पनी वा म्यानपावर कम्पनीले ‘चेम्बर अफ कमर्स’ बाट मात्रै मागपत्र प्रमाणीकरण गराए पनि वैदेशिक रोजगार विभागले कामदार लैजान श्रम स्वीकृति दिँदै आएको थियो । अब दूतावासबाट प्रमाणीकरण/अभिलेखीकरण नभएका कम्पनीमा नयाँ कामदार पठाउन विभागबाट श्रम स्वीकृति दिन मिल्दैन ।


म्यानपावर व्यवसायीका अनुसार रोजगारदाताले भने नेपालबाट कामदार लाने प्रक्रिया झन्झटिलो मानेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले दूतावासको भूमिका समन्वयकारी हुनुपर्ने बताए । ‘दूतावासले रोजगारदाता कम्पनीलाई सहजीकरण गर्न सहयोग गर्छ कि अनावश्यक दु:ख दिन्छ ? अहिले व्यवसायीले दूतावासबाट रोजगारदाता कम्पनीलाई दु:ख दिने काम भइरहेको गुनासो गरिरहेका छन्,’ उनले भने ।


नेपाली श्रम शक्तिको ज्याला निकै सस्तो हुँदा गन्तव्य देशका रोजगारदाता कम्पनीमा नेपाली कामदारको माग उच्च छ । मागअनुसार आपूर्ति हुन सकेको छैन । निर्देशिका कार्यान्वयनमा आएपछि वैदेशिक रोजगार कार्यालयमा पूर्वस्वीकृतिका लागि आउने मागपत्रमा कमी आएको छ । ‘एउटा प्रणालीमा भइरहेको काम अर्को प्रणालीमा जाँदा केही समय लाग्छ, हामी नयाँ ढंगले जाँदै छौं,’ श्रम मन्त्रालयका एक अधिकारी भन्छन्, ‘कि कामदारमाथि शोषण भइराख्न दिनुपर्‍यो । नत्र दु:ख दिने कम्पनीमा कामदार रोक्नुलाई अन्यथा लिनुहुन्न ।’ मागपत्र प्रमाणीकरण गर्दा दूतावासको कार्यसम्पादन कति विश्वसनीय हुन्छ भन्नेमा म्यानपावर व्यवसायीहरूले आशंका व्यक्त गरेका छन् ।

अर्थ वाणिज्य

दूधमा मिसावट: सल्लाह दिने निकाय नै निष्क्रिय

टिप्पणी
- सुरज कुँवर

काठमाडौं– केन्द्रीय प्रयोगशालाले बुधबार सार्वजनिक गरेको दूधको नमुना परीक्षण प्रतिवेदनअनुसार राजधानीमा बिक्री वितरण हुने गाईभैंसीको दूधमा अहिले सरसफाइमा प्रयोग गरिने कास्टिक सोडाको मिसावट डरलाग्दो अवस्थामा देखिएको छ । ३० वटा प्रशोधित उद्योगमध्ये करिबकरिब सबै ठूला डेरीका ४२ वटा नमुनामध्ये ९५ प्रतिशत (४० मा) मा कास्टिक सोडा भेटिएको छ ।


दूध क्षेत्रमा ५ वर्षअघि ०७० असारमा कोलिफर्मजस्ता सूक्ष्म जीवाणु भेटिएपछि आम उपभोक्ता त्रसित बने । सरकारले तत्कालीन कृषि सहसचिव प्रभाकर पाठकको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समिति बनायो । उक्त समितिले गोठदेखि सुधार गर्नुपर्ने लगायतका सुझाव पेस गर्‍यो । उक्त अध्ययनले किसान हुँदै दूध संकलन गर्ने सहकारी, चिस्यान केन्द्र, ठेकेदार, डेरी उद्योगसम्मै सरसफाइको कमीलगायतका थुप्रै समस्या औंल्याएको थियो । सुधारसँगै विज्ञ समूहले सरकारलाई दूध क्षेत्रको नीति नियमबारे सुझाव दिन गठन गरिएको स्वायत्त निकाय राष्ट्रिय दुग्ध विकास बोर्ड र खाद्य वस्तुको गुणस्तर मापन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रभावकारी सक्रियताबारे पनि औंल्याएको थियो ।


पाँच वर्षपछि यसपटक यी दुवै निकाय चुकेको अवस्थामा देखिए । आम उपभोक्तालाई डेरी उद्योगीहरूले तोकिएको मापदण्डभन्दा कम मात्रामा चिल्लो पदार्थ (फयाट) र ठोस पदार्थ (एसएनएफ) दिँदै आएका थिए । योभन्दा खतरा मानव स्वास्थ्यलाई हानिकारक सोडा पनि खुवाउँदै आएको देखियो । यत्रो गल्ती गर्ने व्यवसायीहरूले सार्वजनिक रूपमा होइन आफूबचि गल्ती भएको स्विकार गरिरहेका छन् । ‘हामीबाट गल्ती भएकै हो । यसमा अरूलाई दोष देखाउने, कुतर्क गर्नेभन्दा सार्वजनिक रूपमै माफी मागेर अब हामीले कडाइका साथ सुध्रिनुपर्ने बेला आएको छ,’ राजधानीको एक ठूलो डेरीका सञ्चालकले भने, ‘कृषिमन्त्रीले आफ्नो मातहतका केन्द्रीय प्रयोगशाला र दूध तथा दुग्ध क्षेत्रको विकासका लागि स्थापना भएको बोर्डलाई प्रभावकारी बनाउनैपर्छ ।’ उनले भने, ‘यो ठीक बेला आएको छ । नयाँ नीति नियम ल्याएर डेरी क्षेत्रको गुणस्तर सुधार्नुपर्ने देखिन्छ ।


उनका अनुसार प्रशोधित उद्योगबाहेक काठमाडौंका विभिन्न स्थानमा खुला दूध बिक्री गर्ने (डेक्ची डेरी) पसलहरूको पनि नियमन जरुरी छ । यस्ता डेरी अहिलेसम्म नियमनकारी निकायको निगरानीमा आइपुगेकै छैनन् ।


नेपालको कानुनले ‘गाईको दूध’ भन्नाले ३ दशमवल ५ प्रतिशत दूधको चिल्लो (फयाट) र चिल्लोबाहेक दूधको ठोस पदार्थ (एसएनएफ) ७ दशमवल ५ प्रतिशतभन्दा घटी नभएको दूध भनेको छ । त्यसैगरी ‘भैंसीको दूध’ भन्नाले ५ दशमलव ० प्रतिशत दूधको चिल्लो र सो चिल्लोबाहेक दूधको ठोस पदार्थ ८ दशमलव ० प्रतिशतभन्दा घटी नभएकालाई भैंसीको दूध भनेको छ । तर, उपभोक्ताले यी मापदण्डमा दूध खान पाइरहेका छैनन् ।


काठमाडौं उपत्यकाभित्र दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध मात्र बिक्री हुन्छ । यसमा डेक्ची डेरीले बिक्री गर्ने दूधको मात्रा समेटिएको छैन । कानुनमा ‘प्रशोधित दूध’ भन्नाले आंशिक रूपमा दूधको चिल्लो झिकी वा नझिकी वा दूधको चिल्लोरहित दुग्ध ठोस पदार्थ घोली वा नघोली दूधको चिल्लो ३ दशमलव ० प्रतिशत र दूधको चिल्लोबाहेक दुग्ध ठोस पदार्थ ८ दशमलव ० प्रतिशतमा घटी नभएको हुनुपर्ने भनिएको छ । त्यस्तै यस्तो प्रशोधित दूधमा निरोगन प्रक्रिया (पास्चराइजेसन) वा जीवाणु हनन प्रक्रिया (स्टरिलाइजेसन) सम्पन्न गरेर तयार गरिनुपर्छ । निरोगन प्रक्रिया गरिएको प्रशोधित दूधलाई प्रशोधित तथा (पास्चराइज्ड दूध) र जीवाणु हनन प्रक्रिया सम्पन्न प्रशोधित दूधलाई प्रशोधित तथा (स्टरिलाइज्ड दूध) भनेर बिक्री गर्नुपर्छ ।


केन्द्रीय प्रयोगशालाको प्रतिवेदनअनुसार केही डेरी उद्योगीहरूले मितिबिना बजारमा दूध पठाएको देखिन्छ । यस्तोमा सरसफाइमा प्रयोग हुने कास्टिक सोडाको मिश्रण हुने भएकाले बजारबाट फिर्ता आए पनि पुन: बजारमै पठाउने गरेको देखिन्छ । ‘कास्टिक हालेको दूध फाट्दैन । बजारबाट फिर्ता आए फेरि अर्को दिन पठाउने गरेकाले मिति हाल्दैनन्,’ काठमाडौंको एक डेरी उद्योगसँग आबद्ध एक विज्ञले भने, ‘कास्टिक हाल्नुको कारण दूधको आयु लम्याउनु हो ।’


फयाट घटाउनुको उद्देश्य दूधबाट चिल्लो पदार्थ झिकेर घिउ बनाउने धन्दा हो । केही डेरीहरूले आफ्ना उत्पादनबाट क्रिम तानेर उपभोक्तालाई पातलो दूध पठाउने गरेको देखिएको छ । डीडीसीबाटै हालै अवकाश लिएका एक प्राविधिकका अनुसार यो अर्को धन्दा डेरी उद्योगमा छ । यो तथ्यबारे सरकार बेखबर छ । उनका अनुसार पाउचमा फयाट र एसएनएफको मात्रा लेखिए जति हुँदैन । ‘यो जाँच्ने काम केन्द्रीय प्रयोगशालाको हो तर यो निकाय यसबारे मौन देखिन्छ ।


हरिहरभवनमा रहेको बोर्डले सरकारी र निजी क्षेत्रका दुग्ध उत्पादनसम्बन्धी कार्यक्रमबीच सामञ्जस्य ल्याउनुपर्छ । जनसहभागिताका आधारमा देशभित्रै बढी दूध उत्पादन गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न बोर्ड स्थापना भएको हो । यसले दुग्ध व्यवसायबारे नयाँनयाँ निति बनाउन सरकारलाई सहयोग गर्नुपर्ने हो । दूध उद्योगहरूको विकास गर्नुपर्ने हो ।


यो निकाय करिबकरिब निष्क्रियजस्तै छ । चालु वर्ष ६ करोड बजेट भएको बोर्डको अधिकांश रकम दुरुपयोग हुने गरेको बोर्डका एक अधिकारीले बताए । दूध क्षेत्रमा अनुसन्धान तथा किसानलाई तालिम, भ्रमण गराउने यसको कार्यसूचीमा पर्छ । तर, केही अघि यसले किसानका नाममा तत्कालीन कृषिमन्त्री हरि पराजुलीका छोरा गृभाण पराजुलीलाई अस्ट्रेलिया र इजराल पठायो ।

Page 16
अर्थ वाणिज्य

‘उद्योगका कारण भोल्टेजको समस्या’

- कान्तिपुर संवाददाता

काठमाडौं– उद्योगहरूले विद्युत् आपूर्ति सन्तुलित गर्ने क्यापासिटर बैंक नराखेका कारण विभिन्न जिल्लामा भोल्टेजको समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उद्योगलाई केही समय दिएर क्यापासिटर बैंक राख्न लगाउने र तोकिएको समयमै नराखे उद्योगको लाइन काट्नेसम्मको कारबाही गर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युत्मा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत् लोडलाई नियमित गर्न क्यापासिटर बैंक राखिन्छ ।


प्राधिकरणको विद्युत् वितरण विनियमावली २०६९ ले ५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्य रूपमा क्यापासिटर बैंक राख्नुपर्ने व्यवस्था भए पनि अधिकांश उद्योगले क्यापासिटर बैंक नराखेको प्राधिकरणले जनाएको छ । उद्योगहरूले क्यापासिटर बैंक नराख्दा आम उपभोक्ताले समेत भोल्टेजको समस्या भोगेको प्राधिकरणले जनाएको छ । तराईका जिल्लाका १ सय ४० उद्योगमा अनुमगन गर्दा ४३ वटाले मात्रै क्यापासिटर राखेको पाइएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्राधिकरणले मुलुकभरका वितरण केन्द्रलाई क्यापासिटर बैंक नराख्ने उद्योगको विवरण संकलन गरी पठाउन परिपत्र गरिसकेको छ ।


‘निश्चित समय दिएर उद्योगलाई क्यापासिटर बैंक राख्ने अवधि दिइन्छ,’ घिसिङले भने, ‘उक्त अवधिमा पनि नराख्ने उद्योगको विद्युत् आपूर्ति बन्द गरिन्छ ।’ धेरै विद्युत् खपत गर्ने उद्योगले नै क्यापासिटर बैंक नराख्दा मुख्यतया: तराईका जिल्लामा भोल्टेजको समस्या देखिएको प्राधिरकणले जनाएको छ । भोल्टेज समस्याका कारण विद्युतीय उपकरण नचल्ने, बत्ती मधुरो बल्ने, वितरण प्रणाली प्रभावित हुने समस्या देखिएको प्राधिकरणले जनाएको छ ।


गर्मी बढी भएका जिल्लामा अहिले फयान, एसीजस्ता विद्युत् धेरै खपत गर्ने उपकरणहरू बढी सञ्चालन हुने भएकाले भोल्टेजको समस्या बढेको प्राधिकरणले जनाएको छ । ‘बुटवल, विराटनगर, नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा कम भोल्टेजले गर्दा समय समयमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


भोल्टेजको समस्या समाधानका लागि विद्युत् माग बढी हुने क्षेत्रमा ट्रान्सफर्मर थप्ने, जीर्ण अवस्थामा रहेका ट्रान्सफर्मर फेर्ने तथा मर्मत सम्भार गर्ने, नयाँ सब स्टेसन थप्ने, वितरण लाइन सुधार गर्नेलगायतका काम प्राथमिकतामा राखिएको घिसिङले बताए । प्राधिकरणले उद्योगलाई अनिवार्य क्यापासिटर बैंक राख्न लगाउने, ‘अनलोड टयाप चेन्जर’ जडित ट्रान्सफर्मर रहेका सब स्टेसन थप्ने, सबस्टेसन तथा वितरण ट्रान्सफर्मरमा क्यापासिटर बैंक राख्ने, नयाँ प्रसारण लाइन बनाउने, निजी उत्पादकलाई सम्झौतानुसारको रियाक्टिभ पावर सप्लाई गर्न लगाउने लगायतका काम अगाडि बढाइरहेको घिसिङले बताए ।

अर्थ वाणिज्य

विज्ञापन संघको २८औं वार्षिकोत्सव

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल विज्ञापन संघले २८ आंै वार्षिकोत्सवमा राजधानीमा रक्तदान र नि:शुल्क मुटु परीक्षण कार्याक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा ५२ पिन्ट रगत संकलन र २ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

मिडिया हबद्वारा प्रसारण अनुमति

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मिडिया हब प्रालिले कान्तिपुर एचडी, नेपाल टेलिभिजन, डिसहोम एक्सन स्पोर्टस र एनटीभी प्लसलाई फिफा विश्वकप म्याच प्रत्यक्ष प्रसारणको अनुमति दिएको छ । कम्पनीले यो सुविधा ‘राम्रो नै हेरौं, हाम्रो मै हेरौं’ भन्ने नाराका साथ यो अनुमति प्रदान गरेको जारी विज्ञप्तिमा छ । मिडिया हब फिफा विश्वकप २०१८ को एक मात्र आधिकारिक टेलिभिजन प्रसारण साझेदार हो । यो प्रसारणमा अर्घाखाँची सिमेन्ट, बजाज पल्सर एनएस २००, कोकाकोला, राइनो ५०० डीले सहयोग गरेका मिडिया हबले जनाएको छ ।

अर्थ वाणिज्य

चौधरी फाउन्डेसनको सहयोग

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– चौधरी फाउन्डेसनले चितवन महानगरपालिका २८ मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयका लागि शुद्ध खानेपानी सेवा उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय प्रविधिको ‘वाटर फिल्ट्रेसन सिस्टम’ जडान गरी उक्त विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

सामसङको एयर प्युरिफायर बजारमा

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सामसङले हालै एएक्स ३००० एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ । यसमा भएको पीएम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणु एवं पदार्थलाई सहजै हटाई कोठामा स्वच्छ वातावरण सिर्जना गर्ने दाबी कम्पनीको छ । कम्पनीले यो एयर प्युरिफायर नेपालभरि उपलब्ध रहेको जनाएको छ ।

अर्थ वाणिज्य

सिटिजन्स र मेडिसिटीबीच सहकार्य

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डबाहक ग्राहकले मेडिसिटीमा उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ वाणिज्य

कोक विजेता रसियातर्फ

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ‘कोक खाम् रसिया जाम’ अभियानका ४० जना विजेताहरू रसिया उडेका छन् । दुई टोली बनाइएका विजेताहरूमध्ये पहिलो टोली बिहीबार उडेको छ भने दोस्रो टोली असार २ मा रसिया उड्ने जारी विज्ञप्तिमा छ ।

अर्थ वाणिज्य

आईसीटी अवार्ड हुने

छोटकरी
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– लिभिङ विथ आईसीटीको आयोजनामा ‘आईसीटी अवार्ड २०१८’ हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले भदौ १ देखि तेस्रो संस्करणको आईसीटी अवार्ड कार्यक्रम गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । अवार्डका लागि असार १ बाट अनलाइन रजिस्ट्रेसन सुरु गरिएको जनाइएको छ ।

Page 17
अर्थ वाणिज्य

सूचना प्रकाशित गरेर अनुगमन

मूल्य वृद्धि भएका वस्तु पहिचान गर्न समिति
- राजु चौधरी

काठमाडौं– बजेटपश्चात् बजारमा अचाक्ली मूल्य बढेपछि सरकारले सूचना प्रकाशित गरेर अनुगमन गर्ने भएको छ । बजारभाउ वृद्धिको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बिहीबार उद्योगी, व्यवसायीसँगको छलफलपश्चात् विभागले यस्तो निष्कर्ष निकाले हो ।
‘बजारमा मूल्य वृद्धिको गुनासो बढे पनि अनुगमन गर्दा केही फेला परेन । बिलबीजक जारी गरेका छैनन् । बिहीबारको छलफलमा बिल जारी गर्नुपर्‍यो अन्यथा अनुगमन गरेर कारबाही गर्ने जानकारी गरायौं,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘व्यवसायीले नै सूचना प्रकाशित गर्न अनुरोध गरेका छन् । उनीहरूकै अनुरोधमा सूचना निकाल्दै छांै । त्यसपश्चात कडाइका साथ अनुगमन गर्छौं ।’ बजार अनुगमन गोप्य रूपमा गरिन्छ । अनुगमन गर्दा सूचना दिँदा कैफियत लुकाउन सक्छन् । जसले गर्दा समान्यतया अनुगमन गर्दा गोप्य गर्ने चलन छ । तर, विभागले सूचना जारी गरेरै अनुगमन गर्न लागेको हो ।


मूल्य वृद्धिबारे बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको अध्यक्षता बसेको बैठकले अनुगमन कार्यलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षको बजेटमार्फतको करका दरमा भएको परिवर्तनका कारण मूल्य वृद्धि हुन सक्ने वस्तुहरूको पहिचान गर्ने निर्णय गरेको थियो । गृह, अर्थ, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनसहितको उपस्थिति रहेको बैठकले वस्तु पहिचान गर्न आपूर्तिका सहसचिव नवराज ढकालको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।


समितिमा अर्थ, गृह, राष्ट्र बैंक र आपूर्ति विभागका प्रतिनिधि छन् । बैठकले दैनिक उपभोग्य वस्तुहरू खासगरी खाद्यान्न, तरकारी, फलफूल, औषधिका थोक बिक्रेताहरूको अनुगमनलाई तीव्र एवं प्रभावकारी बनाउने र कडाइका साथ अनुगमन गर्ने तथा अनुगमनका क्रममा असहयोग गर्नेेलाई सख्त कानुनी कारबाही गर्ने निर्णय गरेको थियो । अनुगमनका क्रममा कृत्रिम अभाव, कालोबजारी मिसावट र गुुणस्तरहीन वस्तु बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम सख्त कारबाही अघि बढाइने निर्णय भएको थियो ।


कालोबजारी, कृत्रिम अभाव मूल्य वृद्धिलगायतका सूचनाहरू नेपाल प्रहरीलगायतका सम्बद्ध निकायहरूले विभागलाई जानकारी गराउने र विभागले पनि सरोकारवाला निकायहरूसँग समन्वय गरी त्यस्ता क्षेत्रहरूमा तत्काल अनुगमन गर्ने प्रबन्ध मिलाउने निर्णय भएको थियो । सोही सन्दर्भमा विभागले बिहीबार चेम्बर अफ कमर्स, उद्योग वाणिज्य महासंघ, होलसेल व्यवसायी र खुद्रा व्यवसायीहरूसँग छलफल गरेको हो । मूल्य वृद्धिका सन्दर्भमा कारणसहित पेस गर्न व्यवसायीलाई निर्देशन दिएको गौचनले दाबी गरे । छलफलका क्रममा होलसेल व्यवसायीले आयाततित वस्तुको मूल्य बढेको बताएका थिए भने खुद्रा व्यवसायीको छाता संगठन खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले सबै वस्तुको मूल्य वृद्धि भएको बताएका थिए । विभागका प्रवक्ता ढुण्डीराज पोखरेलले बैठकमा बिलबीजक जारी गर्नेमा व्यवसायीहरू सहमत भएको बताए । ‘विभागले गर्ने अनुगमनमा व्यवसायीले अनिवार्य बिल देखाउनुपर्छ, अन्यथा कारबाहीको भागीदार हुन्छ भनेका छौं,’ उनले भने, ‘यसमा व्यवसायीहरू सहमत भएका छन् ।’ विभागले प्रत्येक १५ दिनमा खाद्यको मूल्यसूची माग गरेको जनाएको छ । त्यसका आधारमा अनुगमन र कारबाही हुने उनले बताए ।

अर्थ वाणिज्य

चीनसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौता हुने

मन्त्रिपरिषद्द्वारा प्रस्ताव पारित
- विजय तिमल्सिना

काठमाडौं– नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौता गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा हुने सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्ले आज पारित गरेको हो ।


बिहीबार मन्त्रिपरिषद्को बैठकले गल्छी–केरुङ ४ सय केभी प्रसारण लाइन निर्माण सम्झौतासम्बन्धी प्रस्ताव पारित गरेको हो । नेपाल र चीनले आआफ्नो भूभागमा पर्ने प्रसारण लाइन आफैं निर्माण गर्ने गरी सम्झौता गर्न लागेका हुन् । प्रधानमन्त्री ओली असार ५ गते चीन जाँदै छन् । यसअघिको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हुने सहकार्यसम्बन्धी प्रस्तावसमेत पारित गरेको थियो । चीनसँगको ऊर्जा सहकार्य प्रस्तावमा भारतसँगको जस्तै ऊर्जा क्षेत्रमा हुने सहकार्यका लागि छलफल गर्न सचिव र सहचिवस्तरीय संयन्त्र निर्माण गर्ने, एक अर्काको देशमा ऊर्जा क्षेत्रमा लगानीको वातावरण तयार पार्नेजस्ता बुँदाहरू उल्लेख छन् ।


यसअघि नै चिनियाँ पक्षले अन्तरदेशीय प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न नेपाल विद्युत् प्राधिकरणलाई प्रस्ताव गरेको थियो ।


चिनियाँ सरकारले यो परियोजना हेर्ने जिम्मा स्टेट ग्रिड कर्पोरेसन अफ चाइना (एसजीसीसी) लाई दिएको छ । एसजीसीसीले विद्युत् प्राधिकरणलाई संयुक्त रूपमा प्रतिवेदन तयार पार्ने गरी अघिल्लो महिना पत्र पठाएको थियो । प्राधिकरणले उक्त प्रतिवेदन अध्ययन गरी ऊर्जा मन्त्रालयलाई प्रस्ताव पठाएको थियो । ऊर्जा मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको हो । धादिङको गल्छीदेखि चीनको केरुङसम्म निर्माण हुने प्रसारण लाइनको ८० किलोमिटर क्षेत्र मात्रै नेपालमा पर्छ । यो प्रसारण लाइनको कुल लम्बाइ ८ सय किलोमिटर हुनेछ । गल्छीदेखि रुसुवागढीसम्मको प्रसारण लाइन नेपालले निर्माण गर्नेछ । भारतबाहेक अर्को देशसँग नेपालको यो पहिलो अन्तरदेशीय प्रसारण लाइन हुनेछ । अहिले नेपाल र भारतबीच ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्र छ ।


नेपाल–भारतबीच निर्माण हुने भनिएको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यु बुटवल–गोरखपुर निर्माणका लागि दुई देशबीच निर्माण मोडलका विषयमा छलफल जारी छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा पनि यसको चर्चा भएको थियो । वैशाख पहिलो साता बसेको नेपाल–भारत संयुक्त सचिव र सहसचिवस्तरीय बैठकमा यसको वित्तीय स्रोतको मोडालिटी टुंगिएको थियो । यसबारे विस्तृत अध्ययन गर्न नेपाल र भारतीय पक्षले तीन महिनाभित्र संयुक्त रूपमा प्रतिवेदन तयार पार्ने सहमति भएको थियो ।

Page 18
विदेश

‘उत्तर कोरियाविरुद्ध प्रतिबन्ध फुकुवा हुँदैन’

- कान्तिपुर संवाददाता
जापानी विदेशमन्त्री तारो कानो, दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ–ह्या र अमेरिकी विदेशमन्त्री माइक पोम्पियो सोलमा बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा । तस्बिर : रोयटर्स

सोल (बीबीसी)– अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ‘पूर्णरूपमा परमाणु नि:शस्त्रीकरण नभएसम्म उत्तर कोरियामाथिको प्रतिबन्ध’ फुकुवा नगरिने बताएका छन् । 

 

पोम्पियो दक्षिण कोरियाको राजधानी सोलमा जापानी तथा उत्तर कोरियाली समकक्षीसँग संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनबीच शिखर वार्ता भएपछि पहिलो पटक प्रतिक्रिया दिएका हुन् ।


ट्रम्प र किमबीच मंगलबार भएको शिखर वार्तामा कोरियाली प्रायद्वीपमा पूर्णरूपमा परमाणु नि:शस्त्रीकरण गर्ने तथा देशबीच नयाँ सम्बन्ध स्थापित गर्ने सहमति भएको थियो ।
शिखर वार्ता सकेर अमेरिका फर्केलगत्तै ट्रम्पले ‘बैठक अपेक्षा गरेभन्दा निकै सफल भएको जनाउँदै उत्तर कोरियाबाट अमेरिकालाई अब परमाणु आक्रमणको खतरा नरहेको’ दाबी गरेका थिए । बैठकमा किमले कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


राष्ट्रपति ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीच नियमितजसो हुँदै आएको संयुक्त सैन्य अभ्यास अन्त्य गर्ने घोषणा गरेपछि पोम्पियो सिंगापुरबाट दक्षिण कोरिया पुगेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै पोम्पियोले अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा ‘नयाँ मोड’ आएको बताए । पोम्पियोले अमेरिका ‘पूर्ण, प्रमाणीकरण गर्न सकिने तथा उल्ट्याउन नसकिने परमाणु नि:शस्त्रीकरणको पक्षमा रहेको’ दोहोर्‍याए । यद्यपि, ट्रम्प र किमबीचको शिखर वार्तामा परमाणु नि:शस्त्रीकरण कसरी गर्ने भन्नेबारे विस्तृत विवरण भने उल्लेख छैन । पत्रकार सम्मेलनमा बोल्दै दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ–ह्याले सोल र वासिङ्टनबीचको सम्बन्ध विगतमा जस्तै निकै बलियो रहेको दाबी गरे । उनका जापानी समकक्षी तारो कोनोले मंगलबारको शिखर बैठकले ‘चुनौतीपूर्ण भए पनि महत्त्वपूर्ण सुरुवात’ भएको जनाए ।


दुई कोरियाबीच सैन्य वार्ता
दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्र पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरको वार्ता सुरु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहानबाट सुरु भएको वार्तामा कोरियाली प्रायद्वीपमा दिगो शान्ति स्थापना गर्न आवश्यक गृहकार्य तथा परमाणु नि:शस्त्रीकरणको प्रक्रियाबारे छलफल भएको जनाइएको छ ।
वार्तामा दक्षिण कोरियाली प्रतिनिधिमण्डलको मेजर जनरल किम डो ग्युन र उत्तर कोरियाली टोलीको नेतृत्व जनरल आन लक सनले गरेका थिए ।

 

‘एक–अर्कालाई राम्रोसँग बुझ्यौं’

वासिङ्टन (सीएनएन)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार उत्तर कोरियाली नेता किम जोङ–उनसँग भएको शिखर वार्तापछि एक–अर्कालाई राम्रोसँग बुझेको बताएका छन् । ऐतिहासिक बैठकपछि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले आफूहरूले ऐतिहासिक कार्य गरेको दाबी गरे । अन्तर्वार्ताका क्रममा ट्रम्पले उत्तर कोरियामाथि क्रूर शब्द प्रयोग गरेर मूर्खता गरेको महसुस भएको बताए । तर ट्रम्पले कोरियाविरुद्धको कडा आलोचनाले दुई देशको मिलन गराएको दाबी गरे । ट्रम्पले भने, ‘मलाई क्रूर व्यवहार गर्न मन थिएन । तर त्यतिबेला हामीसँग अन्य विकल्प पनि थिएनन् ।’ यसअघि पटकपटक वाक्युद्धमा उत्रेका ट्रम्प र किमले एक–अर्काको अपमान हुने गरी सार्वजनिक अभिव्यक्ति दिएका थिए । ट्रम्पले किमलाई ‘लिटल रकेट म्यान’ तथा किमले ट्रम्पलाई ‘पागल बूढो’ को संज्ञा दिएका थिए ।

 

विदेश

अक्सफामलाई हाइटीमा प्रतिबन्ध

- कान्तिपुर संवाददाता

हाइटी (बीबीसी)– हाइटीमा सन् २०१० मा गएको भूकम्पको पुनस्र्थापनामा खटिएका कर्मचारी यौन दुव्र्यवहारमा संलग्न रहेको आरोप खेपिरहेको सहायत संस्था अक्सफामलाई प्रतिबन्ध लगाइएको छ ।


हाइटीले उक्त संस्थाले आफ्नो देशको कानुन मिचेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । हाइटीले भनेको छ, ‘अक्सफामले आफ्नो देशको कानुन मिचेको छ र मानिसको आत्मसम्मानमाथि गम्भीर रूपमा प्रहार गरेको छ ।’


अक्सफामले एक विज्ञप्ति जारी गर्दै हाइटीका नागरिकसँग माफी मागेको छ र केही पूर्वकर्मचारीका व्यवहार अस्वीकार्य भएको दोहोर्‍याएको छ । गतवर्ष यौन दुव्र्यवहारका आरोपहरू सार्वजनिक भएपछि बेलायतमा अक्सफाममाथिको निगरानी थप कडा पारिएको छ ।


हाइटी सरकारले गत फेब्रुअरीमा अक्सफामविरुद्ध अस्थायी प्रतिबन्ध लगाएको थियो । पछिल्लो निर्णयलाई अक्सफामले आफूले बुझेको र केही कर्मचारीको काम पूर्ण रूपमा अस्वीकार्य रहेको जनाएको छ । अक्सफामले आफ्ना इटली, स्पेन र कुवेतमा रहेका कार्यालयमार्फत हाइटीको काम गरिरहने पनि उल्लेख गरेको छ । सन् १९७८ देखि अक्सफाम हाइटीमा कार्यरत छ र सन् २०१० को भूकम्पपछि उसले आफ्ना गतिविधि बढाएको थियो ।


यौन दुव्र्यवहारका आरोपबारेका विवरण सबैभन्दा पहिला द दाइम्स पत्रिकाले बाहिर ल्याएको थियो जसमा एक जना पूर्वप्रमुखले हाइटीमा रहँदा देहव्यापारमा संलग्न महिलाहरूसँग सम्बन्ध राखेको भनिएको थियो ।


चार कमर्चारीलाई गम्भीर गल्ती गरेको भन्दै बर्खास्त गरिएको थियो भने पूर्वप्रमुख रोलान्ट भ्यान होवरमायरनलाई अक्सफाम छाड्न निर्देशन दिइएको थियो ।
होवरमायरनले गल्ती गरे पनि रकम तिरेर यौन सम्बन्ध नराखेको उल्लेख गरेका छन् ।


गत फेब्रुअरीमा अक्सफामले हाइटीसँग माफी मागेको थियो । तर विवाद सार्वजनि भएपछि हजारौं मानिसले उक्त संस्थालाई प्राप्त हुने चन्दा घट्दै गएको छ ।

विदेश

कश्मीरमा गोली हानाहान

३ को मृत्यु
- कान्तिपुर संवाददाता

श्रीनगर (सिन्हवा)– भारत अधीनस्थ कश्मीरमा बिहीबार सुरक्षाकर्मी र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा ३ जनाको ज्यान गएको छ । आक्रमण परी एक सैनिक र दुई विद्रोहीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


सरकार अधिकारीका अनुसार श्रीनगरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दीपोरा जिल्लाको पाना जंगलमा भएको दोहोरो गोली हानाहानमा उनीहरूको ज्यान गएको हो ।
सुरक्षा अधिकारीले उक्त क्षेत्रमा अन्य विद्रोहीको खोजी कार्य जारी रहेको जनाएका छन् र गत आइतबार कुप्वाला जिल्लामा भारतीय सेनाले गरेको कारबाहीमा ६ जना विद्रोही मारिएका थिए ।

 

विदेश

सिरिया आक्रमणमा विषालु ग्यास

- कान्तिपुर संवाददाता

दमास्कस (बीबीसी)– सिरियामा गतवर्ष गरिएको आक्रमणमा विषालु ग्यासको प्रयोग गरिएको रासायनिक हतियार अनुगमनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (ओपीसीडब्लू) ले जनाएको छ ।
ओपीसीडब्लूले सन् २०१७ को मार्च २४ मा सिरियाको विद्रोही नियन्त्रित क्षेत्र लटामिनामा गरिएको आक्रमणमा सरिन तथा क्लोरिन ग्यास प्रयोग गरिएको प्रमाणित भएको जनाएको छ । मानव अधिकारकर्मीहरूका अनुसार उक्त आक्रमण सरकारी फौजले गरेको थियो ।

 

ओपीसीडब्लूले जारी गरेको विज्ञप्तिमा विषालु ग्यास आक्रमणबारे स्थलगत अध्ययन तथा वातावरणीय नमुनाको विश्लेषणका आधारमा निष्कर्ष निकालिएको जनाएको छ । उक्त आक्रमणमा ३२ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । मृतक तथा घाइतेमध्ये अधिकांशमा श्वासप्रश्वास, वान्ता हुनेलगायत समस्या देखिएका थिए । त्यसैगरी, गत अप्रिलमा रूसी सेनाको सहयोगमा सरकारी फौजले सिरियाको पूर्वी सहर डुमामा गरेको आक्रमण रासायनिक हतियार प्रयोग गरेको अमेरिका, बेलायत र फ्रान्सले दाबी गरेका थिए । त्यसको प्रतिक्रियामा उनीहरूले विभिन्न क्षेप्यास्त्र प्रहार गरेका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ती क्षेप्यास्त्रहरू सिरियाको रासायनिक हतियार निर्माण तथा भण्डारण स्थलमा प्रहार गरेको दाबी गरेका थियो ।


तर रूस र सिरियाले उक्त हमलामा कुनै पनि रासायनिक हतियारको प्रयोग नगरेको बताउँदै आएका छन् । रूसले राष्ट्रपति असदको पक्षमा विद्रोहीलक्षित कारबाहीमा सहयोग गर्दै आएको छ ।

Page 19
कला र शैली

ढल्क्यो ढल्क्यो जोबन मेरो...

- कान्तिपुर संवाददाता

मोरङ (कास)– धुलाम्मे र अस्तव्यस्त विराटनगरको मूल सडकमा मालवाहक लगायतका सवारीसाधनको चाप उत्तिकै हुन्छ । स्थानीय बासिन्दा आवश्यक परेका बेला मात्रै सडकमा निस्किन्छन् । तर बुधबार साँझ गर्मी र धुवाँधूलोको पर्बाहै नगरी भाटभटेनी छेउमा गायिका माण्डवी त्रिपाठीसँगै स्वरमा स्वर मिलाएर विराटनगरवासी झुम्मिए ।


बिर्तामोडबाट सुरु भएको रेडियो कान्तिपुरको ‘रेडियो अन हील्स’ दोस्रो सिजनको सांगीतिक यात्रामा विराटनगर आइपुगेकी माण्डवीले ‘ढल्क्योढल्क्यो जोबन मेरो...’ बाट गाउन सुरु गरिन् । उनले एक दर्जन गीत गाइसक्दा दर्शकश्रोता उत्साहित भइरहेकै थिए ।


गायक कमल खत्रीले पनि बालबालिकादेखि वृद्धसम्मलाई भरपूर मनोरञ्जन दिए । हास्यकलाकार विनोद परियार र आशिष ठकुरीले हास्यव्यंग्यमार्फत माहौल बनाए । कार्यक्रम प्रस्तोतासमेत रहेका आशिषले विभिन्न कलाकारको क्यारिकेचरसमेत गरेका थिए ।


रेडियो कान्तिपुरकी प्रस्तोता एलिसा बज्राचार्यले विभिन्न खेल खेलाउँदै दर्शकश्रोतालाई मनोरञ्जन दिइन् । एलिसा र आशिषले संयुक्त रूपमा दर्शकश्रोतालाई रमाइलो प्रश्नको उत्तर दिन लगाएर पुरस्कारको भारी बोकाए ।


रमाइलो खेल खेल्ने, अगाडि आएर प्रश्नको जवाफ दिने, नाच्ने र स्टेजमा गएर गीत गाउनेलाई दर्शकलाई रेडियो कान्तिपुरको लोगो अंकित टिसर्टसहितको पुरस्कार दिइयो ।

कला र शैली

भानुजयन्तीमा हिमवत्खण्ड सम्मिलन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– २०५ औं भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ गर्ने भएको छ । सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भुटानसँगै युरोप र अमेरिकाका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकारदेखि राजनीतिज्ञसम्मको सहभागिता रहनेछ ।


असार २९ गते सुरु हुने तीनदिने सम्मिलनमा विभिन्न देशबाट कार्यपत्र प्रस्तुति, कवि सम्मेलन, कला कार्यशाला, बहुभाषी कवि गोष्ठीसँगै सांस्कृतिक एवं रंगमञ्चीय प्रस्तुतिसमेत रहने प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले बताए ।


सम्मिलनका लागि प्रा.डा. राजेन्द्र सुवेदीको संयोजकत्वमा २०५ सदस्यीय मूल समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा प्रा.डा. बद्रीविशाल पोखरेल, सदस्य सचिवमा डा. देवी नेपाल छन् । कार्यक्रमअन्तर्गत अन्तिम दिन चन्द्रागिरिमा कवि गोष्ठीसँगै कला कार्यशाला हुने र त्यसको संयोजन फिल्मकर्मी एवं सञ्चारकर्मी दिनेश डिसीले गर्ने बताइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजक टोलीलाई बालुवाटार निम्त्याई विभिन्न सुझाव दिएका छन् । सम्मिलनमा नेपालका सबै भाषाभाषी र सबै विधा समेट्न सुझाव दिँदै ओलीले सबै भाषाभाषी र स्रष्टालाई राष्ट्रको समृद्धि, विकास र सुशासनका लागि साहित्य, फिल्म, कला र संस्कृतिका माध्यमबाट भूमिका खेल्नु आग्रह पनि गरे ।


‘आजको साहित्य कस्तो हुने ? यसप्रति स्रष्टाहरूले मन्थन गर्नुपर्ने बेला आएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रियता सम्बद्र्धन, समृद्धि र सद्भाव निर्माणमा स्रष्टाहरूको ठूलो भूमिका हुन्छ ।’ भेटघाटमा प्रतिष्ठानका महासचिव डा. नेपालले यस वर्ष आफूहरू संस्थागत रुपमै ‘समृद्धिको लागि साहित्य’ लाई बहसको विषय बनाएर अघि बढिरहेको जानकारी गराए । टोलीमा प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा.डा. भिक्टर प्रधान, शान्ता मानवी, दयालबहादुर शाहीलगायत थिए ।

कला र शैली

कोलकातामा ‘उपियाँको निबन्ध’

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली नाटक ‘उपियाँको निबन्ध’ लिएर थिएटर मलका कलाकारहरू बिहीबार कोलकातातिर लागेका छन् । भारतको कोलकाता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालका तर्फबाट रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘उपियाँको निबन्ध’ छानिएको हो । थिएटर मल, प्रेरणा विद्याश्रम र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले तयार पारेको यो नाटक सोमबार साँझ ६ बजे कोलकतास्थित एकेडेमी अफ फाइन आर्टको हलमा मञ्चन हुने बताइएको छ ।


‘एसो नाटक सिखी’ ले गर्दै आएको यो नाट्य महोत्सवमा नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंकालगायत आठ मुलुकको सहभागिता रहनेछ भने १६ वटा नाटक छानिएका छन् । राजधानी काठमाडौंमा नियमित मञ्चन भइसकेको ‘उपियाँको निबन्ध’ को शैली थिएटरको राष्ट्रिय बाल नाटक महोत्सवमा पहिलोपटक मञ्चन गरेको थियो । स्कुले परिवेशको कथालाई हास्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको नाटकमा परम्परागत नेपाली सिकाइ शैलीप्रति प्रहार गरिएको छ । नेपालबाट गार्डेन थिएटरको चे शंकर निर्देशित नाटक ‘मिस्टर फक्स एन्ड स्कुल बोय’ को टोली पनि महोत्सवका लागि भारत प्रस्थान गरिसकेको छ ।

कला र शैली

नारदको ‘थोपा–थोपा...’

शैली संक्षेप
- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– गीतकार नारद निठुरीको ‘थोपाथोपा झर्छौ कति...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको गीतमा आशिष अविरलको संगीत तथा संगीत संयोजन छ । जीवन खडका निर्देशित म्युजिक भिडियोमा उनी र चन्दा ढुंगानालाई देख्न सकिन्छ ।

 

Page 20
कला र शैली

‘रोमियो एन्ड मुना’ मा चित्रकला

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ‘रोमियो एन्ड मुना’ को नयाँ गीत ‘भेडेटार घुमौंला...’ सार्वजनिक भएको छ । गीतको भिडियोमा ठुस्किरहेकी सृष्टि श्रेष्ठलाई को–एक्टर विनय श्रेष्ठले फकाउने प्रयास गरिरहेका छन् । कोशिश क्षेत्रीको संगीत र संयोजन रहेको गीतमा पुरुष गायन विनय स्वयंको रहेको छ भने मिना निरौलाले उनलाई साथ दिएकी छन् । दिनेश राउतले गीत लेखेका हुन् ।


पाँच गीत समावेश फिल्मको चार गीत सार्वजनिक भइसकेका छन् । तीन साताअघि रिलिज गरिएको ‘पल पल तिम्रै सम्झनामा...’ मा डच चित्रकार भिन्सेन्ट भ्यान गगका पेन्टिङलाई पात्रसँग ट्रिटमेन्ट गरिएको छ । भ्यान गगले बनाएका सनफ्लावर गार्डेन, गहुँ खेत, तारा मण्डल, धुपीका रूखको चित्रलाई सुक्मित गुरुङले गाएको उक्त गीतको भिडियोमा प्रयोग गरिएको छ । जसलाई ग्राफिक्स र भिजुअल इफेक्टसमार्फत चलायमान बनाइएको छ । सृष्टिको पात्र फिल्ममा भ्यान गगकी फ्यान भएकाले आफ्नो प्रेमीसँग चित्रभित्रको दुनियाँमा पुगेको कल्पना गर्ने गरी कोरियोग्राफी गरिएको निर्देशक नरेशकुमार केसीले बताए । चित्रकला र फिल्मलाई एक ठाउँमा ल्याउन एक वर्ष मिहिनेत गरेको उनले बताए । विश्व शाहीको शब्द र संगीत रहेको गीत सुक्मितको ‘तृष्णा’ एल्बममा समाविष्ट छ ।


‘आइड्रिम एनिमेसन एकेडेमी’ को सहयोगमा भीएफएक्स निर्माण गरिएको उक्त गीतका लागि केही अंश आउटडोर र केही स्टुडियोमा छायांकन गरिएको थियो । क्रोमा केयिङ विधिबाट फरक फ्रेमहरू जोडेर हरियो पृष्ठभूमिमा सुट गरिएको थियो । ‘कुन वस्तु कहाँ हुन्छ, नयाँ वस्तु कहाँ थप्ने भन्नेबारे धेरै ख्याल गर्नुपर्दो रहेछ,’ निर्देशक केसीले भने, ‘भिडियोमा देखिने पराल, क्यान्भास आदि रियल हुन् भने बाँकी डिजाइन गरिएका हुन् ।’


‘भ्यान गगलाई पागल प्रेमी भनिन्थ्यो रे । उनी एक यौनकर्मीलाई यति माया गर्थे रे कि तिनका लागि आफ्नो कान काटेर दिएका थिए भन्ने भनाइ छ । हुन त यो विवादित भनाइ हो तर मेरो फिल्मकी पात्र भ्यान गगजस्तै आर्दश प्रेमी चाहन्छे,’ भ्यान गगको प्रभावबारे पटकथा लेखकसमेत रहेका निर्देशकले पुष्टि गर्न खोजे ।


सेक्सपियर कृति ‘रोमियो एन्ड जुलियट’ र देवकोटाको ‘मुनामदन’ लाई फयुजन गराएर केसीले ‘रोमियो एन्ड मुना’ निर्माण गरेका हुन् । साउन ११ देखि प्रदर्शनमा आउने फिल्मलाई प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले निर्माण गरेका हुन् ।

कला र शैली

विश्वकप फुटबल: कलाकार चासो

होस्टलमा बसेर पढदा लहैलहैमा अर्जेन्टिना रोज्ने टिममा परेकी थिएँ । त्यही दिनदेखि अर्जेन्टिनाको पक्षमा छु । टिम चेन्ज गर्न मन लागेकै छैन ।केकी अधिकारीअभिनेत्री
- कान्तिपुर संवाददाता

काठमाडौं– विश्वकप फुटबल सुरु हुन केही दिनअघि नै अभिनेत्री केकी अधिकारीले फेसबुकको प्रोफाइल पिक्चर अपडेट गरिन् । तस्बिरमा अर्जेन्टिनाको जर्सी लगाएकी उनले विश्वकपको ट्रफी चुम्दै पोज दिएकी छन् । उनको प्रोफाइल पिक्चरमा अर्जेन्टिनाकै समर्थन जनाउनेहरूले तस्बिरसहितका कमेन्टहरू छोडेका छन् । त्यसमा लाइक र कमेन्ट गर्ने क्रम जारी नै छ ।


केकीले चाहिँ किन अर्जेन्टिना नै रोजिन् ? उनले भनिन्, ‘यसबारे मेरो रोचक संस्मरण छ ।’
सम्झना स्कुले जीवनको हो । ‘होस्टलमा बसेर पढदाको समय वल्र्डकप भिन्नै पर्वजस्तै मनाउँथ्यौं,’ उनले भनिन्, ‘कोको कुनकुन टिममा बस्ने भन्ने चलन थियो । मलाई केही थाहा थिएन । लहैलहैमा अर्जेन्टिनाको टिममा बस्न पुगें ।’ त्यही दिनदेखि उनी अर्जेन्टिनाको पक्षमा उभिइन्, त्यो अहिलेसम्म जारी छ । ‘अर्को टिम चेन्ज गर्न मन लागेकै छैन,’ उनले भनिन् ।


फुटबल उनलाई रमाइलो खेल लाग्छ । घरमै आफन्तहरूसँग विश्वकप हेर्नुको मजै बेग्लै हुने उनको अनुभव छ । तर, यो पटकको विश्वकपका अन्तिम दिनहरूमा भने उनी अस्ट्रेलियामा हुनेछिन् । फिल्म प्रदर्शनका लागि अस्ट्रेलिया जाने तयारीमा रहेकी उनले उतैबाट परिवारसँग बसेर विश्वकप फुटबल हेरेको क्षण मिस गर्नेछिन् ।


हास्य अभिनेता केदार घिमिरे (माग्नेबूढा) लाई पनि ‘वल्र्डकप फिभर’ ले छोएको छ । यसलाई दर्साउन उनले केही समयपहिले नेताहरूसँग खेलेको फुटबलको तस्बिर अपलोड गरे । लेखेका छन्, “यो चोटिको वल्र्डकप कसले जित्ला ?’ भनेर सोधेरै हैरान पार्‍या छन् । मैले यही टिमले जित्छ भन्दया छु ।” पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता विष्णु पौडेल, वर्षमान पुन लगायतसँग उनी फुटबल जर्सीसहित उभिएका छन् । ‘सबैले तस्बिर राख्ने होडबाजी गर्न थाले,’ केदारले भने, ‘सामाजिक सञ्जालमा तस्बिर राखेर कुन देशले जित्छ भन्दै तर्क–वितर्क गर्नुभन्दा आफ्नै मुलुकभित्र खेलेको ऐतिहासिक फुटबलको तस्बिर राखें । हल्का रमाइलो नि !’


खासमा भन्ने हो भने उनले फुटबलको नियम राम्रोसँग बुझेकै छैनन रे । ‘गोल हानेको र कति हानेको त्यति मात्रै थाहा पाउँछु,’ उनले भने, ‘अरू नियम खासै थाहा छैन, तर हेर्न रमाइलै लाग्छ ।’


उता अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले जर्सी लगाएको तस्बिरमाथि ट्रोल नै बनेको छ । दीपकले अर्जेन्टिनाको र दीपाले ब्राजिलको जर्सी लगाएको तस्बिर ट्रोलमा हेर्न सकिन्छ । दीपकले ‘म पनि मिस गर्छु’ भन्दै विश्वकप फुटबलप्रति चासो देखाएका छन् ।

कला र शैली

‘फिल्म नचल्नुमा कलाकार मात्रै दोषी हुँदैनन्’

- कान्तिपुर संवाददाता

लेखनाथ (कास)– फिल्म नचल्नुको अपजस कसलाई जान्छ ? निर्माता, निर्देशक वा कलाकारलाई ? नायिका मलिना जोशी भन्छिन्, ‘फिल्म नचल्नुमा कलाकार मात्रै दोषी हुँदैनन् ।’
असार ८ मा प्रदर्शनमा आउने ‘तिमी हुन्छौ जहाँजहाँ’ की नायिकाले फिल्म टिमवर्क भएको बताइन् । ‘ठुल्ठूला स्टारका फिल्म पनि फ्लप भइरहेका हुन्छन्,’ पोखरामा पत्रकार भेटघाटमा उनले भनिन्, ‘कलाकारले मात्रै राम्रो गर्दैमा फिल्म चल्छ भन्ने छैन ।’


‘ऋतु’ बाट फिल्मयात्रा सुरु गरेकी पूर्वमिस नेपालका यसअघि चार फिल्म प्रदर्शनमा आइसकेका छन् । उनले थारू युवतीको भूमिकामा अभिनय गरेर ‘झुम्की’ बाट वाहवाही बटुले पनि व्यावसायिक रूपमा फिल्म असफल भयो । ‘द विनर’ र ‘रानी’ ले पनि सफलता पाउन सकेनन् । ‘तिमी हुन्छौ जहाँजहाँ’ मा आफूले धेरै मिहिनेत गरेको उनले बताइन् । अघिल्ला फिल्म नचल्नुमा आफू मात्र नभई टिम नै दोषीको भागिदार भएको उल्लेख गर्दै उनले थपिन्, ‘सुरुमा हामीलाई एकदम राम्रो कथा सुनाइन्छ । पछि बन्दै जाँदा के हुन्छ के † तर के गर्नु, कलाकार चल्नको लागि पनि फिल्म खेल्नैपर्छ । सबै सफल हुन्छन् भन्ने हुँदैन ।’


नायक मनीषसुन्दर श्रेष्ठले उक्त फिल्मबाट निकै आशावादी रहेको बताए । यसअघि मलिनासँगै ‘रानी’ मा खेलेका उनी दर्शकले पछिल्लो फिल्म मन पराउनेमा ढुक्क देखिए । ‘हामी सबैले राम्रो मिहिनेत गरेका छौं,’ उनले भने, ‘दर्शकहरूले अवश्य हलसम्म पुगेर हेर्नुहुनेछ ।’


कार्यकारी निर्माता प्रकाश बाँस्कोटाले त्रिकोणात्मक प्रेमकथामा फिल्म बनेको बताए । निर्माता डालचन्द्र दवाडीले सुख, दु:ख, हाँसो समेटिएको मनोरञ्जनात्मक फिल्म भएको उल्लेख गरे ।


काठमाडौं, सिन्धुली, पोखरा र मुस्ताङमा छायांकन भएको उक्त फिल्म विवेक बस्यालले निर्देशन गरेका हुन् । यसमा स्वरूपपुरुष ढकाल, रवि गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत, धीरज सुनारको पनि अभिनय हेर्न सकिन्छ । रामशरण उप्रेतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत हेर्न/सुन्न सकिन्छ ।

कला र शैली

नरगिसजस्तै मनीषा !

- कान्तिपुर संवाददाता

सामाजिक सञ्जालमा यति बेला अभिनेत्री मनीषा कोइराला नरगिसमय बनेकी छन् । बलिउडकी पुरानी अभिनेत्री नरगिसजस्तै देखिन मनीषाले फिल्म ‘सन्जु’ मा अथक मिहिनेत गरेकी छन् । तिनै फोटा उनका सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ र ‘फेसबुक पेज’ मा समेत देख्न सकिन्छ । सञ्जय दत्तकी आमासमेत रहेकी नरगिस जस्तै देखिन मनीषाले निकै प्रयास गर्नुपरेको समेत बताएकी छन् ।


सञ्जयको बायोपिक ‘सञ्जु’ मा मनीषा नरगिसको भूमिकामा देखिँदै छिन् । ‘मैले नरिगसजस्तै देखिने निकै मिहिनेत गरेकी छु,’ उनले भनेकी छन्, ‘नरगिस कस्ती देखिनुहुन्थ्यो भन्ने मात्रै नभई उहाँको सोच र मन पनि बुझ्ने कोसिस गरेकी थिएँ । यसमा म कतिसम्म सफल भएँ, थाहा छैन ।’ नरगिसको पात्र अनुभूति गर्न धेरै रिसर्च गर्नुपरेको समेत उनले बताइन् ।


दुर्भाग्यवश, सञ्जयको पहिलो फिल्म ‘रक्की’ रिलिज हुनुभन्दा अघि नै नरगिसको देहान्त भएको थियो । उनी क्यान्सर रोगी थिइन् । ४७ वर्षीया मनीषाले नरगिसको जीवनलाई अभिनयमा उतार्न ‘इनर स्ट्रेन्थ’ बलियो बनाउनुपर्ने बताइन् । आफू पनि क्यान्सरको मुखबाट बचेको सम्झँदै उनले जीवनको मूल्य यसै घटनाबाट महसुस गरेको सुनाइन् ।

Page 21
हेल्लो शुक्रवार

सधैं दाबेदार

आफ्नै भूमिमा भएको विश्वकप २०१४ को सेमिफाइनलमा ब्राजिललाई जर्मनीले ७–१ ले हराएको थियो । ब्राजिली फुटबल एक खेल हार्दैमा कहाँ मरेको थियो र ? कहाँ मर्न सक्छ र ? विश्वकप २०१८ मा छनोट हुने पहिलो देश बनेको ब्राजिल २१ औं संस्करणको सबभन्दा बलियो टिम हो ।
टिमको कमजोरी भनेको सायद नेयमारले बोकिरहेको चोट हो, तर यो पनि निको भइसकेको जस्तो छ ।
- हिमेश

फुटबललाई ‘ब्युटिफुल गेम’ भनेर नाम राख्ने अरू कोही होइन, ब्राजिली पेले थिए । उनलाई लाग्थ्यो, फुटबल आफैंमा सुन्दर छ । यो उनको अनुभव हो । फेरि अरूले पनि फुटबललाई ‘ब्युटिफुल गेम’ भन्छन्, किनभने पेलेको ब्राजिलले पस्कने फुटबल पनि त सुन्दर हुने गर्छ । भनिन्छ, युरोपेलीहरू दिमागले फुटबल खेल्छन्, ब्राजिलले मनले । ब्राजिलीको फुटबल माया बेजोड छ र यो ठ्याक्कै मनबाट बाहिर आउने गर्छ । फेरि युरोप र ब्राजिली शैलीको फुटबल पनि फरक छ ।


ब्राजिलियनहरू व्यक्तिगत खेल कौशलता देखाउन माहिर हुन्छन् । छोटा–छोटा पास खेल्छन्, अनि गोलका लागि सुन्दर माहोल सिर्जना गर्छन् । यी त भए, ब्राजिली फुटबलबारे साँच्चै केही सुन्दर शब्द । विश्वकप २०१८ हिजो रुसमा सुरु भइसकेको छ । अहिले पूरा विश्वकपमा यसकै चर्चा छ । अनि विश्वकप भनेपछि ब्राजिल कसरी छुट्न सक्छ र ? फुटबलको चर्चा ब्राजिलबिना पनि सम्भव हुन्छ र ? ब्राजिली फुटबलबारे अनौठा न अनौठा किस्सा सुन्न पाइन्छ, पत्याउन नै गाह्रो
हुने खालका ।


भनिन्छ, फुटबल जन्मेको त इंग्ल्यान्डमा हो, तर यसलाई हुर्काउने काम भने ब्राजिलले गर्‍यो । सबैलाई थाहा भएकै तथ्य हो, ब्राजिल नै एक मात्र त्यस्तो देश हो, जसले विश्वकपका सबै संस्करण खेलेको छ । यो गर्विलो प्रदर्शनको कीर्तिमान हो, ब्राजिलको नाममा रहेको । अनि ब्राजिल विश्वकपको सबैभन्दा सफल टिम पनि हो । सबैखाले तथ्यांकले यही भन्छ । उसले पाँचपल्ट विश्वकप जितेको छ । के यसपल्ट ब्राजिलले फेरि विश्वकप जित्न सक्छ त ?


ब्राजिलीले विश्वकपमा ब्राजिललाई नै समर्थन गर्ने त भयो नै, त्यसबाहेक पनि धेरैका लागि विश्वकप हुनुपर्छ, समर्थन गर्ने टिम ब्राजिल नै हुने गर्छ । हाम्रै एसियामा पनि ब्राजिली समर्थक धेरै छन् । अनि नेपालमा पनि । अरू बेला फुटबलमा खासै चासो नराख्ने पनि विश्वकप आउनुपर्छ, ब्राजिली समर्थक हुन्छन् । यस्तो छ, ब्राजिल र उसको फुटबल । फेरि उही प्रश्न के यसपल्ट ब्राजिलले विश्वकप जित्न सक्छ त ? यसको उत्तर ठ्याक्कै यस्तो भने छैन ।


तर निश्चित छ, ब्राजिल विश्वकप २०१८ को उपाधि जित्ने सबैभन्दा बलियो प्रत्याशी हो । धेरै फुटबल पण्डितले पनि यही भनिरहेका छन्, ब्राजिल नै हो, यसपल्ट उपाधि जित्न सक्ने टिम । यसपल्टको विश्वकपको टाइसिट यसो पल्टाउनुपर्छ र समीकरण तयार पार्नुपर्छ, ब्राजिलको सम्भावना निकै जीवन्त देखिन्छ । टाइसिट धेरै हदसम्म ब्राजिलको पक्षमा पनि देखिन्छ । सायद यसपल्ट भाग्य ब्राजिलीको दाहिने छ कि ? यी त भए, सबै सम्भावनाहरू ।


सबैभन्दा पहिले चार वर्ष अगाडिको विश्वकपमा फर्कौं न । त्यति बेला ब्राजिलले आफ्नै भूमिमा विश्वकप आयोजना गरेको थियो । त्यति बेला पनि भनियो, विश्वकप जित्ने ब्राजिल नै हो । टिम सेमिफाइनल पनि पुग्यो, यस्तोमा उपाधि लगभग दुई जित मात्र टाढा थियो । तर उफ, ब्राजिल सेमिफाइनलमा जर्मनीको हातबाट नराम्रोसँग पराजित रह्यो, ७–१ को कल्पनीय स्कोरमा । त्यति बेला सबैले भन्न थालेका थिए, अब केही होइन, ब्राजिलको फुटबलले मृत्यु आत्मसात् गर्‍यो ।


साँच्चै ब्राजिली फुटबलको सय वर्षको इतिहासमा टिमले यति नमीठो हार पहिला कहिले नै बेहोरेको थिएन । धेरैले के पनि अनुमान गरे भने अब ब्राजिली फुटबल कहिले पनि पहिले जस्तो हुने छैन । किन यस्तो भयो भनेर धेरै कारण पनि खोजिए । जतिका मुख, उत्तिकै फरक धारणा अगाडि आए । तर यी आरोप, पीडा अनि दु:ख सेलाउन धेरै समय लागेन । त्यसको दुई वर्षमै दक्षिण अमेरिकी विश्वकप छनोट सुरु भयो र यो सुरुआत थियो, ब्राजिली फुटबलको पुनर्निर्माण ।


अझ भनौं, पुनर्उत्थान । पुनर्उत्थान ? ब्राजिली फुटबल एक खेल हार्दैमा कहाँ मरेको थियो र ? कहाँ मर्न सक्छ र ? विश्वकप २०१८ मा छनोट हुने ब्राजिल पहिलो देश बनेको थियो । उसले छनोटमा साँच्चै गज्जब खेल्यो । त्यसो त छनोटमा ब्राजिल पहिलो खेलमै चिलीसँग २–० ले पराजित रहेको थियो । तर त्यसपछि ब्राजिलले कुनै खेल गुमाएन, लगातार १७ खेलमा । यसमा अर्जेन्टिनामाथि ३–० को जित अनि उरुग्वेलाई उसकै भूमिमा ४–१ ले हराउनु छनोटको केही सम्झनालायक खेल थिए ।


जति बेला पूरा विश्वकपका छनोटमा अरू ठूला टिम भनिनेहरू संघर्ष गरिरहेका थिए, त्यति बेला ब्राजिलले भने आरामले खेलिरहेको थियो किनभने प्रत्येक खेलपछि छनोट उसको एक पाइला नजिक आइरहेको थियो । छनोटयताका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने ब्राजिलले प्रभावशाली जित निकालेका छन्, जसमा जर्मनीविरुद्ध १–० जित पनि पर्छ । फेरि एकपल्ट इतिहास पल्टाउने हो भने ब्राजिलले जितेको विश्वकपको सूची बनाउनु ठीक हुन्छ, ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो ।


ब्राजिलले सन् १९५० र १९९८ को विश्वकप फाइनल पनि खेलेको थियो । सन् २०१० को विश्वकपमा खराब प्रदर्शनपछि ब्राजिलले पूर्वखेलाडी डुंगालाई प्रशिक्षकमा नियुक्त गरेको थियो । तर डुंगाले फेरि निराश पारे, ब्राजिली फुटबललाई । २००२ को च्याम्पियन प्रशिक्षक लुई फिलिप स्कोरलरीले फेरि २०१४ मा टिम सम्हाले । तर उनको टिमविरुद्ध सात गोल गरे जर्मनीले ब्राजिलमा भूकम्प नै ल्याइदिएको थियो । त्यसपछि आए, प्रशिक्षकमा लियोनार्डो बाची । सायद धेरैले उनलाई यो नामले चिन्दैनन् । उनलाई खासमा चिनिने ‘टीटी’ उपनामले हो । यो त हाम्रो उच्चारण भयो । पोर्चुगाली भाषामा यसको खास उच्चारण भने ‘चिची’ हुन्छ ।


उनी ब्राजिली टिममा के आए, टिममा फेरि ज्यान फर्केको थियो । यी चिची ब्राजिलमै जन्मे हुर्केका फुटबल व्यक्तित्व हुन् । उनीमाथि कुनै पनि बेला कुनै पनि अर्थमा युरोपेली फुटबलको प्रभाव परेको छैन, बरु उनी दक्षिण अमेरिकी शैलीको फुटबलमै भिजेका प्रखर प्रशिक्षक हुन् । उनले टिम सम्हालेयता ब्राजिलले लगातार सात खेल जितेको थियो, छनोटका । उनी ४–१–४–१ को शैलीमा फुटबल खेलाउन रुचाउँछन् । यो शैलीको विशेषता हो, आक्रामक फुटबल र त्यसलाई सुहाउँदा आकर्षक छोटा–छोटा पास ।


ब्राजिली मिडियालाई पनि यो शैली खुबै मन पर्छ, त्यसैले मिडियाले पछिल्लो समय टिम, खेलाडी र प्रशिक्षकको लगातार प्रशंसा गरिरहेको छ । चिची आवश्यकताअनुसार शैली परिवर्तन गर्न पनि माहिर छन् । र, यो शैली हो, ४–३–३ को । अहिलेको ब्राजिली टिमको शक्ति के हो त ? यसको पहिलो उत्तर हो, टिममा नयाँ र पुराना खेलाडीको राम्रो मिश्रण छ । यो भनेको जोस र अनुभवको मिलन हो । नेयमारदेखि जेसस, कोउटिन्हो, विलियन जस्ता खेलाडीमा कमजोरीभन्दा सबलता नै बढी छ ।


ब्राजिली टिमको मुख्य जिम्मेवारीमा त नेयमार नै हुनेछ । ग्याब्रिएल जेसस त चिचीका प्रिय खेलाडी हुन्, टिममा उनको पनि बलियो उपस्थिति हुनेछ । पउलिन्होलाई मुख्य खेलाडीको सूचीमा थपे हुन्छ । चिचेको नेतृत्वमा उनले पनि राम्रो गरिरहेका छन् । टिमको कमजोरी भनेको सायद नेयमारले बोकिरहेको चोट हो, तर यो पनि निको भइसकेको जस्तो छ । अन्त्यमा, फेरि एकपल्ट के भने ब्राजिल उपाधिको बलियो दाबेदार छ किनभने उससँग टिम छ, खेलाडी छ, लय छ । अनि त्यसलाई सुहाउने भाग्य पनि ।

[email protected]

Page 22
हेल्लो शुक्रवार

फेसनमा जीवन

- मधु शाही

सिक्किमबाट सीए पढ्न दिल्ली पुगेका युवा काठमाडौं प्रवेश गरेको एक दशकभित्रै चर्चित डिजाइनरमा स्थापित भए ।


सीए (चार्टर्ड एकाउन्टेन्ट) बन्ने लक्ष्य लिएर सिक्किमबाट दिल्ली पुगेका थिए । कलेज पढ्दै फुर्सदमा घुम्दा फेसन उद्योग देखे, जुन उनको सोचाइभन्दा विल्कुलै फरक थियो । कहिलेकाहीँ हिँड्दाहिँड्दै गन्तव्य फेरिन्छ र यस्तै भयो तेन्जिङ छेतेन भुटियाका लागि पनि ।


सीए अध्ययनरत छँदा उनको ध्यान ड्रेस डिजाइनिङतर्फ मोडियो । घरमा स्वीकृति लिनका लागि सोध्दा आमाले उनलाई भनेकी थिइन्, ‘फेसन डिजाइनिङ पढेर के गर्छौ ?’ मुस्किलले फेसन डिजाइनिङ पढ्ने अनुमति पाए । नेसनल इन्स्टिच्युट आफ फेसन टेक्नोलोजी, बेङ्लोरमा दुईवर्षे कोर्स गरे र उतैतिर केही समय काम पनि गरे ।


तर उनले बेङ्लोर बसाइलाई त्यति सजिलो मान्न सकेनन् । ‘काममा आत्मसम्मान भएन भने सिर्जना मर्ने रहेछ,’ सिक्किमका तेन्जिङले भारत बसाइलाई सम्झिए, ‘आफ्नै देश (भारत) मा हुँदा पनि मैले पराई जस्तै महसुस भयो ।’ उनी साथीको निम्तोमा नेपाल आइपुगे । उनको पुख्र्यौली पूर्वी नेपालको इलाम हो ।


नेपाल बसाइलाई उनी आफ्नै घर ठान्छन्, अनुभव गर्छन् । एक दशकअघि काठमाडौं ओर्लिएका तेन्जिङलाई त्यसपछि करिअर बनाउन भनेर भारत फर्किनुपरेन । ‘अचेल अतिथि बनेरमात्र उता (भारत) जान्छु,’ उनले भने । यसबीच एक दशकमा नेपाली फेसन उद्योग तीव्र गतिमा परिवर्तन भइरहेको उनको अनुभव छ । उनी काठमाडौं आउँदा यहाँ डिजाइनरको संख्या एकदमै न्यून थियो । डिजाइन गरेर बेचिनेभन्दा पनि रेडिमेड पसल धेरै थिए । बाहिरबाट कपडा ल्याउने र बेच्ने काम धेरै हुन्थ्यो । ‘लुगा लगाउनु पनि कला हो भन्ने थाहा थिएन,’ उनी भन्छन्, ‘अहिले डिजाइनर पनि सेलेब्रिटी स्थितिमा आइसकेका छन् ।’


तेन्जिङले मिस नेपाल २०१० मा साहना वज्राचार्यका लागि ‘इभिनिङ गाउन’ बनाएका थिए । त्यसले उनलाई परिचित बनाएको थियो । नीलो–हरियो रङको गाउनमा साहना निकै खुलेकी थिइन् । त्यस कामप्रति तेन्जिङलाई पनि खुबै चित्त बुझेको थियो । उनी भारतीय च्यानल जुम टेलिभिजनको रियालिटी शो ‘लेट्स डिजाइन सिजन–२’ मा पनि सहभागी भए र फिनालेसम्मै पुगे ।


मिस अर्थ नेपाल रोजिशा शाहीले फिलिपिन्समा भएको मिस अर्थमा लगाएकी ‘ब्लु मर्मेट गाउन’ पनि तेन्जिङकै सिर्जना थियो ।


तेन्जिङ फेसनलाई व्यक्तिको परिचय ठान्छन् । मानिसको हरेक गतिविधिमा पहिरनको विशेष अर्थ हुन्छ । पहिरनले मानिसको व्यक्तित्व उजागर गर्छ । त्यसैले तेन्जिङ पहिरनमा जीवन देख्छन् । थुप्रै संस्थाहरूबाट वार्षिक करिब तीन सय फेसन डिजाइनर नेपालमै पनि निस्कन थालेका छन् । डिजाइनरको संख्या र प्रतिस्पर्धा बढ्दा आफ्नो सिर्जनशीलता पनि वृद्धि हुने तेन्जिङको धारणा छ ।


‘म चाहन्छु धेरै प्रतिस्पर्धा होस्,’ उनी भन्छन्, ‘फेसनको दुनियाँ प्रतिस्पर्धाकै लागि हो । यस्तै खेलमा नै त राम्रा सिर्जना फुर्ने गर्छ ।’ बसुन्धरा बस्ने तेन्जिङले आफ्नै नामको बुटिक सञ्चालन गरिरहेका छन् । प्रविधिको विकासले फेसन बजार पनि फराकिलो बन्दै गएको उनी बताउँछन् । उनका अधिकांश ग्राहक विदेशमा बस्ने नेपाली छन् । हङकङ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायतबाट अनलाइनमार्फत लिइने अर्डर लिएर तयार पारिएको पहिरनलाई उनी कुरियर गरेर पठाउने गर्छन् । तेन्जिङ स्वतन्त्र तरिकाले काम गर्न रुचाउँछन् । उनी डिजाइनलाई पहिरनअनुसार स्टाइलमा रूपान्तरण गर्छन् । पछिल्ला समय विवाहका पहिरनमा बलिउडको प्रभाव बढेको उनी मान्छन् । ‘नेपालीहरू विदेशमा पुग्ने क्रम जति बढ्छ, उति नै त्यहाँको पहिरन शैली र संंस्कृति पनि आदनप्रदान हुन्छ,’ उनले भने । ‘मौलिक कलामा फ्युजन गर्ने चलन बढेको छ ।’

 


तेन्जिङका उत्कष्ट ५ डिजाइन


स्प्रिङ सब्टल
जाडो छोडेर पूरै गर्मी नलाग्दासम्मको मौसममा आउने परिवर्तन चञ्चल र रोमाञ्चक हुन्छ । यही मनोविज्ञान समेटेर प्रिन्ट र कलर कम्पोजिसनसँग खेलेर यो ड्रेस तयार गरिएको हो । लेहेंगाको चोलीमा महिलाको पोट्रेट बनाएर फरक लुक्स दिने कोसिस गरेको थिएँ ।


गोल्डेन गर्ल
सुनौलो रङ आकर्षक मानिन्छ । सुनौला पदार्थ प्रयोग गरेर महिलाहरू चम्किला, सक्षम र हँसिलो छन् भन्ने भाव पस्किइन्छ । यो डिजाइन नारी सशक्तीकरणसँग जोडिएकाले पनि विशेष लाग्छ ।

 

सिमेन्ट ब्याग
जस्तोसुकै सामग्रीबाट पहिरन बनाउन सकिन्छ भन्ने देखाउन यो थिम अपनाएको थियो । सिमेन्टको बोरा काटेर महिलाका लागि गाउन तयार गरे । यो सिर्जना म आफैंलाई पनि नौलो लागेको थियो ।


स्प्रिङ सब्टल
नीलो–सेतो रङ संयोजन गरिएको यस ड्रेसको विशेषता नै तेर्सो धर्का हो । ब्लाउजमा इम्ब्रोइडरी गरिएको थियो भने सलमा पनि हातको काम देखाउने प्रयास गरेको छु । मौलिकलाई आधुनिक बनाउने प्रयास हो ।


समर ब्राइट
गर्मी मौसममा बेहुली हुनु गाह्रो हुन्छ । पहिरनले समस्या पार्छ । विवाहमा लगाउने पहिरनमा स्टोन धेरै हुन्छ, जसले भार बढाउँछ । मैले फूलबुट्टा कुँदेर यो पहिरन तयार गरेकाले अरुभन्दा विशेष लाग्छ ।

[email protected]

हेल्लो शुक्रवार

अनिलको थिएटर यात्रा

‘पैसाले दिन नसक्ने सुख नाटकले दिइरहेको छ ।’
- पर्वत पोर्तेल

तेस्रोलिंगीहरूले समाजमा बेहोरेका पीडा देखाइन्छ ‘जिउँदो आकाश’ मा । यो नाटकमा युवा रंगकर्मी अनिल सुब्बाको अभिनयको सबैले प्रशंसा गरेका छन् । त्यसैबाट अनिललेचर्चा बटुले । केही अघि थिएटर ओलम्पिकमा दिल्ली र गुवाहटीमासमेत नाटक प्रदर्शन गरिसकेका अनिल अहिले मोफसलमा व्यस्त छन् ।


‘विभिन्न जिल्लाहरूवाट नाटक देखाइदिनुपर्‍यो भनिरहेका छन् तर हामी भ्याइरहेका छैनौं,’ पोखरा, दमकपछि बिर्तामोडमा नाटक देखाउन आइपुगेका अनिलले भने । झापाको सीमावर्ती इलामस्थित चुलाचुलीका उनी २०६४ ताका नै गाउँमा सडक नाटक, कचहरी गर्दै हिँड्थे । यही मेसोमा गन्तव्य थिएटरका निर्देशक प्रकाश आङ्देम्बेसँग नजिकिए । अनिलले गन्तव्यबाट ‘बेरङ रङहरू’ मा अभिनय गर्ने अवसर पाए । त्यसअघि उनी गाउँमा सडक नाटकमा छोटो भूमिकामा देखिएका थिए । त्यस बेलासम्म उनलाई नाटकबारे खास जानकारी थिएन । लहैलहैमा अभिनय गरेका उनी त्यसपछि भने दर्शकप्रति लोभिँदै नाटकतिर आकर्षित भएका हुन् ।
‘खासमा नाटकमा रस भिजेको त्यही बेलादेखि नै हो,’ २१ वर्षीय अनिलले पुरानो कुरा सम्झिए, ‘पछि नाटकले नै गन्तव्य थिएटर हुँदै काठमाडांैतिर डोर्‍यायो ।’ उनी पाँच वर्षअघि गाउँमा शिल्पीकै थिएटर स्याहारेर बसेका थिए । शिल्पी थिएटरले नाटक सिक्न छात्रवृत्ति दिने भएपछि उनी राजधानीतिर लागेका थिए । उनले सुनील पोखरेलसँग ‘डिस्कभरी योर सेल्फ’ पनि सिके ।


प्रशिक्षणपछि अनिलले शिल्पीमा ‘स्टोरी टेलर’ को काम गरे । बाल्यकालको सम्झनालाई रोचक ढंगले १५ मिनेटमा प्रस्तुत गरेर उनले दर्शकको मन जितेका थिए । ‘त्यसैबाट मलाई धेरैले चिने । विश्वास गरे,’ अनिल भन्छन् । त्यसले उनलाई ‘जिउँदो आकाश’ को निर्देशक आरके मेहता रोशनको सम्पर्कमा पुर्‍याएको थियो ।


पशुपति राईको ‘धोचालेचा’ मा अभिनय गरेपछि उनी अझ परिचित बने । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ मा आइते माइलाको चरित्रले उनको करिअरको ग्राफ ह्वात्तै बढाइदियो । अनि उनलाई नियमित नाटक खेल्ने प्रस्ताव आउन थाल्यो । शेक्सपियरको कथामा सुनील पोख्रेलको परिकल्पनामा मञ्चन गरिएको ‘मिट्स सम नाइट’ देखि मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’, शिव रिजालको ‘दीक्षान्त’ हुँदै ‘हरियो ढुंगा’ सम्म आइपुग्दा उनको अभिनय सशक्त देखिएको छ ।


जिउँदो आकाश उनको सम्पर्क बडो रोचक छ । करिब तीन वर्षअघि दोलखामा आयोजित राष्ट्रिय नाटक महोत्सवमा जिउँदो आकाश प्रदर्शन गरिएको थियो । त्यो वेला अनिलले चाहिँ आफ्नै गाउँको अग्र्यानिक स्वादमा ‘देवाङ्सी राजा’ देखाएका थिए । पछि काठमाडौंमा भेट भएपछि आरके मेहताले उनलाई स्क्रिप्ट दिँदै भनेछन्, ‘अब जिउँदो आकाश गर्ने जिम्मा तपाईंको ।’ अनिलले हुन्छ त भने तर कसरी गर्ने भन्ने चिन्ताले उनको निद हराम गरिदियो । मेहता अध्ययनका लागि इटाली पुगे । उनी फर्केपछि स्क्रिप्टमा केही परिवर्तन गरेर अनिलसँगै उक्त नाटक तयार पारे ।


केही गर्ने योजनाका साथ नाटकमा आएको उनले सुनाए । उनी सधैं काम राम्रो गर्ने प्रयत्नमा अहोरात्र खट्ने गर्छन् । नाटकको कमाइले उनको सामान्य जिन्दगी चलेको छ । उनलाई पैसाप्रति त्यति मोह छैन । सम्पत्ति कमाउने मन भएको भए यिनी कि विदेश भाग्थे, कि त लाहुर लाग्थे । तर, दुवै नरोजेर नाटक रोजे, जहाँ पैसा खासै हुँदैन । ‘पैसा नभए पनि आत्मसन्तुष्टि प्रशस्तै छ,’ अनिल भन्छन्, ‘पैसाले दिन नसक्ने सुख नाटकले दिइरहेको छ ।’

[email protected]

Page 23
हेल्लो शुक्रवार

रुसमा रोचक

- कान्तिपुर संवाददाता

फिफा विश्वकप फुटबलको २१ औं संस्करण बिहीबार रूसमा सुरू भयो । रूसका ११ सहरका १२ रंगशालामा एक महिना सञ्चालन हुने विश्वकपमा ३२ टिमले प्रतिस्पर्धा गर्दैछन् । यसपालिको विश्वकपका केही रोचक पक्ष :

डेन्टिस्ट पनि प्रशिक्षक

 

आइसल्यान्डका ५१ वर्षीय प्रशिक्षक हाइमिर हाल्ग्रिम्सन पेसाले डेन्टिस्ट हुन् । उमेर छँदा औसत स्तरका खेलाडी हाल्ग्रिम्सनले खेल जीवन सकिएलगत्तै फुटबल प्रशिक्षण गर्न पनि थालेका थिए । उनी खेलाडी छँदै डेन्टिस्ट भइसकेका थिए । एक हजार जनसंख्या भएको भेस्टमन्यजार गाउँबाट उनले काम थालेका थिए ।
सन् २०११ मा आइसल्यान्डको सहायक प्रशिक्षक नियुक्त भएका हाल्ग्रिम्सनले २०१३ देखि लार्स लेगरब्याकसँगै संयुक्त रूपमा मुख्य प्रशिक्षकको भूमिका निभाए । युरो २०१६ पछि हाल्ग्रिम्सन एक्लो मुख्य प्रशिक्षक बनेसँगै डेन्टिस्टको काम पार्ट–टाइमका रूपमा मात्र गरिरहेका छन् । अचेल पनि टिमको प्रशिक्षण नहुँदा हाल्ग्रिम्सन दाँतको उपचारमा व्यस्त हुन्छन् । उनले दुवै करिअरलाई सँगै अगाडि बढाउने बताउँदै आएका छन् ।

४५ वर्षे खेलाडी !


इजिप्टका गोलरक्षक एसाम अल–हदारी ४५ वर्ष ५ महिनाका भए । यसपटक उनी मैदानमा उत्रिए विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी हुनेछन् ।
पछिल्लो संस्करणमा कोलम्बियाका फरिद मोन्ड्रागनले ४३ वर्ष ३ दिनको उमेरमा विश्वकप खेलेर कीर्तिमान कायम गरेका थिए । यसपटक उक्त कीर्तिमान तोड्ने पक्षमा छन्, अल–हदारी । इजिप्टका कप्तानसमेत रहेका हदारीले व्यावसायिक फुटबल खेल्न थालेको २५ वर्ष भइसकेको छ । उनले १ सय ५८ खेल खेलिसकेका छन् ।

 

नाइजेरियन जर्सी मोह

 

विश्वकपमा कुनै देशको जर्सीले अर्को राष्ट्रको बजारमा तहल्का मच्चाएको घटना विरलै हुन्छ । यसपटक नाइजेरियाको जर्सीले विशेष चर्चा पाइरहेको छ । नाइजेरियाको सेतो र हरियो रङमा डिजाइन गरिएको जर्सी बजारमा आएको केही क्षणमै करिब ३० लाख जर्सी बिक्यो । अनलाइनमा ३ मिनेट पनि टिकेन । नाइकले स्टक सकिएको भन्दै कतिपय स्थानमा सोरुम नै बन्द गर्‍यो । जर्सी उत्पादक नाइकले घरेलु जर्सीमात्र नभएर ट्रयाक ज्याकेट, ह्याट, लगायत अन्य सामग्री पनि सोही डिजाइनमा रहेर उत्पादन गरेको छ । नाइकका म्याट वल्फले डिजाइन गरेको यो किट सन् १९९४ मा नाइजेरियाले प्रयोग गरेको जर्सीबाट प्रेरित छ ।

 

जुम्ल्याहा दाजुभाइ

 

आयोजक रुसबाट जुम्ल्याहा दाजुभाइ एलेक्सी र एन्टोन मिरान्चुक विश्वकप खेल्ने टिममा परेका छन् । यी दुवै रुसी क्लब लोकोमोटिभ मस्कोका नियमित खेलाडी हुन् ।
एलेक्सी फरवार्ड हुन् भने एन्टोन आक्रामक मिडफिल्डमा खेल्ने गर्छन् । गत सिजन एन्टोनले क्लबका लागि ४० खेलमा ५ गोल गर्दै थप ६ गोलका लागि अन्तिम पास दिएका थिए । एलेक्सीले क्लबका लागि ४० खेलमा ८ गोल गरेका थिए भने सात गोलमा अवसर सिर्जना गरेका थिए । अनुभवी खेलाडीको बाहुल्यता रहेको रसियाली टोलीमा दुवै खेलाडी पहिलो रोजाइमा खेल्ने सम्भावना भने न्यून छ ।

 

मार्केज पाँचौंपल्ट


मेक्सिकोका राफेल मार्केज पाँचौंपल्ट विश्वकप खेल्ने संघारमा छन् । उनी सन् २००२ देखि नियमित विश्वकपमा मेक्सिकोका लागि खेल्दै आएका छन् । उनी १९९८ को विश्वकपमा भने अन्तिम चरणमा टोलीमा अटाउन सकेका थिएनन् ।
यसपटक उनी मैदानमा ओर्लिएमा विश्वकपमा जर्मनीका लोथार म्याथुज र मेक्सिकोकै एन्टोनियो कार्बाहालको कीर्तिमान बराबरी गर्नेछन् । ३९ वर्षीय मार्केजले विश्वकपपछि संन्यास लिँदैछन् । बार्सिलोनामा सात वर्ष खेलेका उनी डिफेन्स र डिफेन्सिभ मिडफिल्ड दुवै भूमिकामा खेल्ने गर्छन् ।

Page 24
हेल्लो शुक्रवार

स्मार्टफोनका द्धिविधा

टीभी धेरै हेरेर बालबालिका बिग्रिए भन्ने गुनासोको सट्टा अब मोबाइल धेरै चलाएर मान्छे बिग्रिएकामा चिन्ता बढेको छ ।
- कान्तिपुर संवाददाता

पछिल्ला वर्षमा स्मार्टफोनप्रति मानिसको आशक्ति यति बढेको छ कि जसले बनाएको हो, उसैले भन्नुपरेको छ– अब कम चलाऊ ।


पछिल्ला केही सातायता यस्तै घटनाले चर्चा पाएका छन् । जस्तो कि अघिल्लो महिना गुगलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ भर्सन एन्ड्रोइनपीको घोषणा गर्दै प्रयोगकर्तालाई स्मार्टफोन ठिक्क मात्रै चलाउन प्रोत्साहित गर्ने फिचरको घोषणा गर्‍यो । फेरि अघिल्लो साता एप्पलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्समा आगामी आईओएस अपरेटिङ सिस्टमको घोषणा गर्दै आइफोन कम प्रयोग गर्न प्रयोगकर्तालाई सघाउने फिचरको घोषणा गर्‍यो ।


एक दशक अघिसम्म पनि बालबालिकाले टेलिभिजन धेरै हेरेर उनीहरूले खेल्न बिर्सिए । उनीहरूको आँखा बिग्रियो भन्नेजस्ता गुनासा धेरै सुन्न पाइन्थ्यो । फेरि, केही वर्षयता यस्तै खालको भनाई स्मार्टफोनमा लागू भएको छ । टीभी धेरै हेरेर बालबालिका बिग्रिए भन्ने गुनासोको सट्टा अब मोबाइल धेरै चलाएर मान्छे बिग्रिएकामा चिन्तामा बढेको छ । साथीहरूसँग बस्दा होस् वा परिवारसँग । स्मार्टफोनमा आँखा जुधाएर बस्ने बानीले अहिले संसारभरका मानिसहरू आजित छन् । यस्तो खालको मानवीय स्वभावले मान्छेबीचको सम्बन्ध पनि न्यानो हुन नसक्ने भन्दै धेरैले चिन्ता जनाएका छन् । यसमा एप्पलकै प्रमुख लगानीकर्ता पनि थिए । जनवरी पहिलो साता एप्पलका लगानीकर्ताले कम्पनीको नाममा खुलापत्र लेख्दै बालबालिकाको बढ्दो स्मार्टफोन मोह कम गर्नका लागि केही कदम चाल्न आग्रह गरेका थिए ।


अघिल्लो महिना एन्ड्रोइड पीको घोषणा गर्दै गुगलले नयाँ फिचरको घोषणा गरेको थियो, जसले धेरैलाई आश्चर्यमा पार्‍यो । ड्यासबोर्ड नाम दिइएको उक्त फिचर एन्ड्रोइडको आगामी भर्सनमा उपलब्ध छ । सीमित स्मार्टफोनमा बेटा भर्सन उपलब्ध भएको एन्ड्रोइड पी यो वर्षको अन्त्यतिर सबैको लागि खुला हुनेछ ।


गुगलले सार्वजनिक गरेअनुसार एन्ड्रोइड पीको ड्यासबोर्डमा यस्ता केही फिचरहरू छन् जसले प्रयोगकर्तालाई कुन एप एक दिनमा कति घण्टा चलाउने, मोबाइल कति घण्टा प्रयोग गर्ने भन्नेजस्ता सुविधा दिनेछ । साथै, यसमा प्रयोगकर्ताले आफ्नो सुत्ने समय सेट गर्न मिल्ने र उक्त समयपछि फोन स्वत: श्यामश्वेत मोडमा जाने फिचर पनि राखिएको छ । प्रयोगकर्तालाई मोबाइलमा कम टाँसिन यस्तो फिचर ल्याएको गुगलले घोषणा गरेको थियो । जसले प्रयोगकर्तालाई धेरैभन्दा धेरै स्मार्टफोन प्रयोग गर्न लोभ्याउने फिचर ल्याउनुपर्ने हो, उसैले कम चलाउन सघाउने फिचर ल्याउने घोषणा गर्दा धेरैले आश्चर्य मानेका थिए ।


यही फिचर एप्पलले आफ्नो आइफोन र आइप्याडमा पनि प्रयोग गर्ने भएको छ । एप्पलले गत साता सम्पन्न आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्समा सार्वजनिक गरेअनुसार आईओएस १२ मा रहेको स्क्रिन टाइम फिचरले प्रयोगकर्तालाई कुन एप कति प्रयोग गरेको, कति घण्टा मोबाइल प्रयोग गरेको जानकारी दिनेछ । साथै, प्रयोगकर्ताले आफूले चाहेको एपबाट आउने नोटिफिकेसन बन्द गर्ने, सीमित नोटिफिकेसन मात्रै क्रिनमा देखाउन मिल्ने सुविधा पनि प्रयोग गर्न पाउने छन् ।


गुगल र एप्पल दुवैले आफ्ना अपरेटिङ सिस्टममा नोटिफिकेसनलाई पनि सुधारेको घोषणा गरेका छन् । दुवै अपरेटिङ सिस्टमको आगामी भर्सनमा डु नट डिस्टर्भ मोड प्रयोग गरेपछि स्मार्टफोन घडीजस्तो मात्रै रहनेछ ।


दुवै कम्पनीले आफ्नो अपरेटिङ सिस्टममा थपेको नयाँ फिचरले भने एउटा कुरा पुष्टि गरेको छ– अब स्मार्टफोनमा भुल्ने बानी फेर्ने बेला आइसकेको छ । मानिसहरू अहिले मुखले भन्दा पनि औंलाले बोल्न थालेका छन् । र, बालबालिका र किशोरकिशोरीमा यो समस्या झन् बढ्दो छ ।


तर, दुवै कम्पनीले आफ्नो अपरेटिङ सिस्टममा प्रयोगकर्ताले स्मार्टफोनको प्रयोगलाई कम गर्न सघाउने फिचर राखेको भए पनि प्रयोगकर्तालाई स्मार्टफोन साँच्चिकै कम प्रयोग गर्न मिल्ने गरी सुविधा भने कटौती गरेका छैनन् । बरु, दुवैले आफ्ना नयाँ अपरेटिङ सिस्टममा प्रयोगकर्तालाई स्मार्टफोन धेरै प्रयोग गर्न मन लाग्ने फिचरहरू थपेका छन् । आफ्नो भ्वाइस असिस्टेन्टलाई सुधारेका छन् र पहिलेका सुविधामा पनि आकर्षण थपेका छन् ।

हेल्लो शुक्रवार

याहु म्यासेन्जर बन्द हुने

हेलो टेक
- कान्तिपुर संवाददाता

फेसबुक, भाइबर र ह्वाट्सएप आउनुअघि सबैभन्दा चर्चित रहेको याहु म्यासेन्जर बन्द हुने भएको छ । याहु म्यासेन्जर १७ जुनदेखि बन्द हुने कम्पनीले जनाएको छ । कम्पनी याहु म्यासेन्जर बन्द हुने घोषणा गर्दै प्रयोगकर्ताहरूले आफ्ना पुराना च्याटहरू डाउनलोड गरी सुरक्षित राख्न सक्ने जनाएको छ ।


सन् १९९८ मा याहु पेजरका रूपमा लञ्च भएको यो सेवा १९९९ देखि याहु म्यासेन्जरका रूपमा ब्रान्डिङ गरिएको थियो । याहु म्यासेन्जर व्यक्ति–व्यक्तिबीच च्याटबाहेक ग्रुप च्याटको लागि पनि चर्चित थियो । म्यासेन्जर रुम दिइएको याहु म्यासेन्जरको फिचर चर्चित मानिन्थ्यो, जसमा विभिन्न देशमा रहेका प्रयोगकर्ताहरूसँग नचिने पनि पनि च्याट गर्ने सुविधा हुन्थ्यो । च्याट रुम फिचर सन् २०१२ मा बन्द गरिएको थियो । पछिल्लो समय याहु म्यासेन्जरले आधुनिक म्यासेजिङ एपमा हुने सबै सुविधा थपे पनि प्रयोगकर्ता आकर्षित भएनन् ।

हेल्लो शुक्रवार

इन्स्टाग्राममा ‘रि–पोस्ट’

हेलो टेक
- कान्तिपुर संवाददाता

इन्स्टाग्रामले आफ्नो नयाँ अपडेटमा एउटा नयाँ फिचर थपेको छ । यो फिचरले प्रयोगकर्ताले आफू
ट्याग भएको स्टोरिजलाई आफ्नो प्रोफाइलमा रि–पोस्ट गर्ने सुविधा दिनेछ । प्रयोगकर्ताले आफूलाई ट्याग नभएको अरूको स्टोरिज फेरि पोस्ट भने गर्न पाउने छैनन् ।


‘कुनै प्रयोगकर्तालाई कसैले आफ्नो स्टोरिजमा ट्याग भए, उनीहरूले त्यसको नोटिफिकेसन पाउनेछन्,’ इन्स्टाग्रामको ब्लगमा भनिएको छ, ‘उनीहरूले सोही नोटिफिकेसनमा क्लिक गरी रिपोस्ट गर्ने फिचर प्रयोग गर्न सक्छन् ।’ यो सुविधा भने पब्लिक इन्स्टाग्राम एकाउन्टमा मात्रै लागू हुनेछ । एकाउन्ट प्राइभेट गरेका प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न पाउने छैनन् ।

हेल्लो शुक्रवार

ग्यालेक्सी एस नाइन अगाडि

हेलो टेक
- कान्तिपुर संवाददाता

अप्रिल महिनामा सामसुङको ग्यालेक्सी एस नाइन एप्पलको आइफोन टेनलाई उछिन्दै बजारमा नम्बर एक भयो । मार्केट पल्सले सार्वजनिक गरेको रिपोर्टअनुसार अप्रिलमा बिक्रीका हिसाबले सामसुङको ग्यालेक्सी एस नाइन प्लस, एस नाइनपछि बल्ल आइफोन टेन छ । तर, सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सूचीमा एप्पलको दबदबा कायमै छ ।


अप्रिल महिनामा धेरै बिक्री भएका १० स्मार्टफोनमध्ये ५ मोडल एप्पलकै छन् । एप्पलको आइफोन एट प्लस, आइफोन एट, आइफोन सिक्स हाल सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको सूचीमा छन् । चिनियाँ स्मार्टफोन निर्माता साओमीको रेडमी फाइभ र रेडमी फाइभ प्लस पनि सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सूचीमा समावेश छ ।