You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

- कृष्ण ज्ञवाली,मातृका दाहाल

(काठमाडौं) - निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो ।
सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्त भएको जानकारी दिए । उनले तिहार बिदाका कारण आइतबारदेखि अदालत बन्द हुने भएकाले आगामी बिहीबार प्रतिवेदन अध्ययन गरेर निर्णय हुने बताए । ‘अध्ययन गर्न समय लाग्ने भएकाले तिहार बिदापछि कार्यालय खुल्ने दिन फाइलबारे निर्णय हुन्छ,’ खनालले कान्तिपुरसँग भने । उनले प्रतिवेदन अध्ययन नगरेकाले थप टिप्पणी गर्न नसकिने बताए ।
महानगरीय प्रहरी परिसर स्रोतका अनुसार महरामाथि मुलुकी अपराध संहिताको दफा २१९ मा उल्लेखित ‘जबर्जस्ती करणी’ को प्रयास गरेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ । दफा २२३ अनुसार एउटै कार्यालयमा कार्यरत कर्मचारीमाथि करणी प्रयासको आरोपमा पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । ‘हरेक कसुरको प्रयास (यसलाई कानुनी भाषामा उद्योग गरेको भनिन्छ) मा छुट्टै सजाय व्यवस्था आवश्यक छैन । संहिताको दफा ३४ मा कसुरको प्रयास गरेको तर कसुर सफल नभएको भए आधा सजाय हुने भनी सबै कसुरका हकमा आकर्षित हुने व्यवस्था गरेको छ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सञ्जीवकुमार रेग्मीले भने, ‘संहिताले कसुर मानेको हरेक अभियोगको आधा सजाय त्यसको उद्योगको अभियोगमा हुन्छ । तर जिल्लाले हेरिरहेको कुनै घटनाबारे चाहिँ सुरुमै हाम्रो टिप्पणी रहँदैन ।’
पीडित संसद् सचिवालयकी कर्मचारीको उमेर १८ वर्षभन्दा माथि रहेको र उनीमाथि बलात्कार प्रयास भएको आरोप लागेकाले पुष्टि भए महरालाई साढे ३ देखि ५ वर्षसम्मको सजाय हुन्छ । संहिताको दफा २१९ बमोजिम आरोपितलाई ७ देखि १० वर्ष कैदको आधा सजायको मागदाबी लिन प्रहरीले राय पेस गरेको हो । अदालतले पीडितलाई क्षतिपूर्तिको आदेशसमेत दिन सक्नेछ । त्यसका लागि बलात्कार प्रयास गरेको आरोप प्रमाणित हुनुपर्नेछ ।
प्रहरीले एउटै कार्यस्थल/कार्यक्षेत्रमा कार्यरत कर्मचारीमाथि करणीको प्रयास भएको आरोपमा पनि अभियोग मागदाबी गरेको छ । जसअनुसार दुई वर्षसम्म कैद सजाय र २० हजारसम्म जरिवाना हुन सक्छ । संहिताको दफा २२३ मा कार्यस्थल जोडिएको अवस्थामा चार वर्ष कैद र ४० हजार रुपैयाँ थप जरिवाना हुन सक्ने व्यवस्था छ तर प्रयास मात्रै भनिएकाले पुष्टि भए सजाय आधा हुनेछ । दफा २२३ ले कार्यस्थल र त्यसका कारणले हुने ‘करणी’ मात्रैलाई पनि कसुरयोग्य ठानेको छ । जसमा ‘कार्यालय वा पेसागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने’ उल्लेख छ । बलात्कार प्रयास र यौन दुर्व्यवहारको विषय समावेश भए मूल अभियोगमा थप सजाय हुनेछ । महरा प्रतिनिधिसभाका सभामुख थिए भने पीडित संसद् सचिवालयमा कार्यरत कर्मचारी हुन् । महरामाथिको अभियोग पदीय हैसियतअनुसार समेत प्रभावित बनाएको भन्ने देखिएको प्रहरी स्रोतले बतायो ।
दुवै अभियोगमाथिको सजायको दाबी हेर्दा महरामाथि साढे ५ देखि ७ वर्षसम्म सजाय हुन सक्छ । अभियोग प्रमाणित भई दुवै अभियोगको सजाय खप्टिए साढे ३ देखि ५ वर्ष सजाय हुने देखिन्छ ।


सुरुमा सार्वजनिक भएको भिडियोमा पीडितको कोठामा देखिएको मदिराले आरोपलाई थप संवेदनशील बनाएको छ । पीडितले बयानका क्रममा महराले मदिरा पिलाएको र आफूले पनि पिएको बताएकी छन् । मदिरा सेवन गरेपछिको व्यक्ति ‘होस ठेगानमा नरहेको अवस्था’ मा पुग्छ । संहिताको दफा २१९ मा ‘होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन’ भनेको छ ।
प्रहरीले संसद् सचिवालयमा कार्यरत ती कर्मचारीको स्वास्थ्य परीक्षण र फरेन्सिक जाँचसम्बन्धी प्रतिवेदन प्रमाणका रूपमा पेस गरेको छ । प्रहरीको दाबीअनुसार उक्त प्रतिवेदनले निवर्तमान सभामुख महरामाथिको अभियोगलाई बलियो आधार दिएको छ ।
महरालाई पक्राउ गर्नु दुई दिनअघि असोज १७ गते नै महानगरीय प्रहरी परिसर काठमाडौं र बानेश्वर वृत्तको टोलीले पीडित ती कर्मचारीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा फरेन्सिक जाँच र स्वास्थ्य परीक्षण गराएको थियो । त्यसको भोलिपल्ट प्रहरीमा महराविरुद्ध बलात्कार प्रयास गरेको आरोपमा किटानी जाहेरी परेको थियो ।

त्यही आधारमा असोज १९ गते अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै सिंहदरबार प्रहरीको हिरासत कक्षमा राखिएका महरालाई त्यही राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नियमित र फरेन्सिक जाँचमा लगियो ।
ती कर्मचारीको स्वास्थ्य परीक्षण प्रतिवेदनले उनीमाथि कुटपिटबाट शरीरमा चोटपटक लागेको निष्कर्ष निकालेको छ । महराको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेत अध्ययन गरेपछि प्रहरीले महराको रगत परीक्षण गर्न आग्रह गरेको थियो । प्रहरीले महरा पीडितको घरमा गएको सीसीटीभी फुटेज, मोबाइलबाट भएका म्यासेज आदानप्रदान र फोन सम्पर्कका अभिलेखलाई प्रमाणका रूपमा पेस गरेको छ ।

टाइमलाइन

असोज १२ : राति बलात्कार प्रयास आरोप
असोज १३ : हाम्रा कुरा डटकमबाट घटना सार्वजनिक, साँझ महराको सचिवालयबाट आरोपको खण्डन
असोज १४ : सभामुखबाट महराको राजीनामा, साँझ दुर्व्यवहार नभएको दाबीसहित सञ्चारमाध्यममा ती कर्मचारीको अन्तर्वार्ता
असोज १७ : पीडित कर्मचारीको त्रिवि शिक्षण अस्पतालमा फरेन्सिक परीक्षण
असोज १८ : महराले बलात्कार प्रयास गरेको भन्दै ती कर्मचारीबाट प्रहरीमा जाहेरी
असोज १९ : महरा बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ
असोज २३ : स्वास्थ्य समस्या देखिएपछि महरा नर्भिक अस्पताल भर्ना
कात्तिक ८ : महरामाथि करणी उद्योगमा मुद्दा चलाउनुपर्ने रायसहित प्रहरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस

मुख्य पृष्ठ

गरिमाको बीउ नक्कली

- राजु चौधरी
चितवन खैरहनीका कृष्ण लामा बाला नलागेपछि हरियै धानको बोट काट्दै । तस्बिर ः रमेशकुमार पौडेल/कान्तिपुर

(काठमाडौं) - धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो ।
भारतको रेनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादनको गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालिले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेको धानको बीउको वंशाणुगत गुण र चरित्र मिलेन,’ नार्कका वैज्ञानिक सुशील सुवेदीले भने, ‘गरिमा भनी किसानलाई अर्कै बीउ बेचेर ठगी गरेको देखियो ।
बीउ नक्कली पुष्टि भएपछि सरकारले उत्पादन गर्ने भारतीय कम्पनीमाथि छानबिन गर्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने तयारी गरेको छ । नेपालस्थित आयातकर्ता कम्पनीको बीउ कारोबार इजाजतपत्र खारेज गर्न कृषि मन्त्रालयलाई सिफारिस गरिएको छ । यस्तै, क्षति मूल्यांकन गर्न बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिलाई एक महिना समय दिइएको छ ।
बीउबिजन केन्द्रका अनुसार गरिमा हाइब्रिड धान नेपालमा २०७२ सालमा दर्ता भएको थियो । यसको पाक्ने अवधि १२० देखि १२५ दिन हो । बोटको उचाइ १०० देखि १०५ सेन्टिमिटर हुन्छ भने उत्पादन क्षमता ५.८ देखि ६.३ मेट्रिक टन हो । गरिमा हाइब्रिडको मसिनो दाना हुन्छ ।

यो जातको धान तराई र भित्री मधेसमा सिफारिस गरिएको छ । यस वर्ष वितरण गरिएको बीउ भने ढिला पाक्ने प्रकृतिको रहेको नार्कले जनाएको छ । यो नक्कली बीउ मुलुकभर करिब १७ टन आयात गरी बिक्री गरिएको थियो । यो बीउ लगाएको हजारौं रोपनी क्षेत्रफलमा धानबाली पसाएकै छैन । बाला नलागेपछि किसानले हरियै गाँज काट्न थालेका छन् । किसानलाई फौजी किराको प्रकोपले थप सताएको छ ।
गरिमा हाइब्रिड बीउको स्रोत रिनोभा सिड साइन्स इन्डिया प्रालि हैदरावादमा छ । नेपाल आयात गर्ने साउथ इस्ट एसियन सिड कम्पनी प्रालिका सञ्चालक देवानजंग चौधरी हुन् । चौधरीको कम्पनीले तीन पटक बीउ आयात गरेको थियो । पहिलो लटमा आयात गरिएको बीउमा समस्या नदेखिए पनि दोस्रो र तेस्रो लटमा गुनासो आएको उनले बताए । ‘बीउ उत्पादनकै क्रममा केही समस्या हुन सक्छ । उत्पादक कम्पनीलाई जानकारी गराएको छु,’ उनले भने, ‘यसमा मेरो गल्ती छैन । उतैबाट गरिमा भनेर त्यस्तो
बीउ दिएछ ।’
चौधरीले आयात गरेको बीउ सबैभन्दा बढी चितवनमा बिक्री भएको थियो । त्यहाँ प्रशान्त एग्रोभेटले बीउ बिक्री गरेको थियो । १३ हजार ४ सय ४ केजी खरिद गरेको एग्रोभेटले चितवनमा मात्रै ९ हजार केजी बेचेको थियो । बाँकी ४ हजार ४ सय ४ केजी रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा र तनहुँॅलगायत जिल्लामा बिक्री गरिएको थियो ।
डीएनए प्रतिवेदन बिहीबारै राष्ट्रिय बीउबिजन समितिमा पेस गरिएको छ । बीउबिजन समितिका सदस्य सचिव एवम् बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र प्रमुख थापाले हाइब्रिडका नाममा गडबडी भएको बताए ।
अरू धान काट्ने बेला भइसक्दा गरिमा भनिएको धान नपसाएपछि राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम धनुषाका धान संयोजक रामवरण यादवको संयोजकत्वमा कृषि मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । समितिले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा पनि गरिमा हाइब्रिडसँग मेल नखाएको उल्लेख थियो । ‘यसमा बाला निस्कन थप २० देखि २५ दिन र पाक्ने अवधि पनि दर्ता गरिएको गरिमा हाइब्रिड धानको भन्दा करिब १ महिना बढी लाग्ने देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘दर्ता गरिएको गरिमा जातको हाइब्रिड धान र स्थलगत निरीक्षण गरिएको धानको जातीय विशेषता (विशेषगरी बाली अवधिमा) फरक पाइयो ।’ स्थलगत परीक्षणपश्चात् नार्कले प्राविधिक (डीएनए) परीक्षण गरेको हो ।
थापाको नेतृत्वमा बनेको क्षति मूल्यांकन समितिमा प्रदेश, स्थानीय तहका प्रतिनिधि, ज्ञान केन्द्र, धान वैज्ञानिकलगायत छन् । वास्तविक खेती र क्षति मूल्यांकन गरेर कृषि मन्त्रालयमा पेस गर्ने र त्यसपछि कृषि मन्त्रालय र प्रदेश सरकारले क्षतिपूर्ति निर्क्योल गर्ने समिति संयोजक थापाले बताए । उनका अनुसार बिहीबार बीउबिजन बोर्ड बैठकले आयातकर्ताको लाइसेन्स र गरिमा हाइब्रिडलाई बीउ सूचीबाट खारेज गर्न मन्त्रालयलाई सिफारिस गरिसकेको छ । खारेज भने मन्त्रिपरिषदबाट गराउनुपर्छ । ‘अब आयातकर्ताको कारोबार स्वतः रोकिन्छ । लाइसेन्स खारेज हुन्छ,’ थापाले भने, ‘जरिवाना तथा क्षतिपूर्ति भराउनुपर्ने हुन्छ ।’ केन्द्रका अनुसार आयातकर्ता क्षतिपूर्ति दिन मौखिक रूपमा तयार छ ।
नार्कका वैज्ञानिक सुवेदीले आयातकर्तालाई बीउ उत्पादक कम्पनीले ठगेको भए भारतीय कम्पनीलाई पनि कारबाही हुनुपर्ने बताए । ‘त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने । उनले कानुनी रायका आधारमा कारबाही प्रक्रियामा जानुपर्ने बताए ।
कृषिमन्त्री चक्रपाणि खनालले गत सोमबार कान्तिपुरसँग डीएनए परीक्षणको प्रतिवेदनपछि आयातकर्तालाई मुद्दा चलाउने बताएका थिए । उनले अर्थ मन्त्रालयको सहमति लिएर किसानलाई क्षतिपूर्ति दिने पनि बताएका थिए । त्यसका लागि मन्त्रिपरिषद्बाट टुंगो लगाउने उनको भनाइ थियो । कृषि सहसचिव सबनम पोखरेलले पनि नियमअनुसार किसानलाई क्षतिपूर्ति दिइने बताइन् । ‘क्षति मूल्यांकन गर्न समिति बनेको छ, त्यही समितिको सिफारिसका आधारमा किसानले क्षतिपूर्ति पाउँछन्,’ उनले भनिन् ।

मुख्य पृष्ठ

बलात्कार मुद्दामा न्याय पाएकी पूजा भन्छिन्– ‘न्यायाधीश बन्छु’

- तृप्ति शाही

(बैतडी) - सदरमुकाम खलंगाबाट दुई घण्टाको दूरीमा पर्छ बैतडी–डडेल्धुराको सिमाना अनारखोली । त्यहाँबाट भित्र करिब दुई
घण्टा कच्ची सडक पार गरेपछि पाटन नगरपालिका–१ को विकट गाउँ डँसिली पुगिन्छ । त्यही गाउँको एउटा पुरानो घरमा रहेको चिया पसलमा रामसिंह बोहरा चुलो बाल्दै थिए ।
रामसिंह जसले बैतडीको चर्चित बलात्कार घटनामा पीडित भएकी छोरी पूजाका लागि ८ वर्षसम्म निरन्तर न्यायको लडाइँ लडिरहे । आफूलाई भेट्न कान्तिपुरकर्मी आउने खबर पाएकाले शुक्रबार उनी कुरेर बसेका थिए । पुग्नेबित्तिकै मुसुक्क हाँस्दै स्वागत गरे । ‘ढिलै भए पनि न्याय पाइयो,’ उनले भने, ‘बिहान गाउँकै एक जनाले सुनाए, छोरीले न्याय पाउने भई रे !’
उनका दुई घर रहेछन् । एउटा पसल नजिकै, अर्को अलि तल । ‘म बिहानै आइहालेँ, घर गएर छोरीलाई भेट्नै पाएको छैन,’ उनले भने, ‘उसले थाहा पाई कि पाइन ।’
सर्वोच्च अदालतले बिहीबार आरोपितलाई निर्दोष ठहर गर्ने पुनरावेदन अदालतको फैसला उल्ट्याएको खबर देशभर फैलिइसकेको थियो । रामसिंहले भने भोलिपल्ट बिहान मात्र थाहा पाए । उनले भने, ‘न फोन छ, न रेडियो ।’
घरसम्म जाँदा करिब १५ मिनेट पैदल यात्रामा उनले आफ्ना पीडा एकोहोरो सुनाए । ०६८ सालमा बुबाको वार्षिक श्राद्धकै दिन छोरीमाथि घटना भएको उनले सम्झिए । ‘बुबाको वार्षिकीकै दिन छोरीको उपचारका लागि काठमाडौं जानुपर्‍यो,’ उनले भने, ‘धपेडीले म पनि बिरामी परेको थिएँ तर भाग्यले बाँचेँ ।’
उनलाई रक्षा नेपाल संस्थाले साथ दियो । छोरीका लागि मुद्दा लडे । जिल्ला अदालतले दोषीलाई सजाय सुनाएपछि न्याय पाएको महसुस गरे । केही समयपछि पुनरावेदन अदालत महेन्द्रनगरले जिल्लाको फैसला उल्ट्याइदियो । ‘पीडामाथि फेरि पीडा थपियो,’ उनले भने, ‘न्यायको आस मर्‍यो ।’
एकातिर न्यायको लडाइँ, अर्कातिर छोरीको भविष्यको चिन्ता । यसबीचमा उनले धेरै हन्डर खेपे । धेरैले कुरा काट्दै हिँडे । मिल्नुपर्छ भने ।

लाखौं पैसा दिन्छौं भनेर प्रलोभन पनि दिए । छोरीको लालनपालन र पढाउने जिम्मा लिएको संस्थाले बीचमै साथ छोड्यो । तैपनि उनी डगमगाएनन् । बरु बलियो भएर न्यायका लागि लडिरहे ।
पढाइ खर्च नतिर्ने भनेपछि उक्त संस्थासँग संघर्ष गरेरै वाचा पूरा गर्न लगाएको उनले सुनाए । ‘केही महिना संस्थाले दिएको पैसाले खर्च चलाएँ,’ उनले भने, ‘त्यसपछि खेती किसानी र यही चिया बेचेर छोराछोरीको पढाइ खर्च धानेको छु ।’ पूजा कानुन विषय पढिरहेकी छन् । अरू छोराछोरी पनि पढ्दै छन् ।
पुनरावेदनले फैसला गर्दा आफूलाई जानकारीसम्म नदिएको उनको गुनासो छ । ‘अहिले न्याय पाएँ, यसैमा खुसी छु, न्याय मरेको रहेनछ भन्ने लागेको छ,’ उनले भने, ‘मुद्दा चलेपछि करिब एक वर्ष अनुसन्धान र एक वर्ष जिल्लाको फैसलापछि मात्र पीडकहरूलाई पक्राउ गरियो । त्यतिन्जेल उनीहरू खुलेआम हिँडिरहे ।’ १३ वर्षकी छोरीको न्यायका लागि दुःख पाए पनि अहिले खुसी लागेको उनले बताए । ‘अब दोषीलाई कारबाही भएको देख्ने मन छ,’ घरको आँगनमा टेक्दै गर्दा उनले भने ।
घर पुग्नासाथ उनले छोरीलाई सोधे, ‘थाहा पायौ त सर्वोच्चको फैसला ?’ प्रश्न नसकिँदै पूजाले भनिन्, ‘हिजै साँझ वकिलले सुनाइसक्नुभएको थियो ।’
उनको मुहारमा खुसी भरिएको थियो । पीडालाई जितिसकेको अनुभव गर्न सकिन्थ्यो । आफूमाथि भएको घटना सम्झन पनि नचाहेको बताउँदै आएकी उनले भनिन्, ‘न्याय त पाइयो । सबैले फोनबाट बधाई दिइरहेका छन् । घरपरिवार खुसी छन् ।’
दसैंतिहारका लागि घर आएकी उनले काठमाडौंमा साथीहरूले खुसी मनाएको बताइन् । ‘पढाउने सरहरूले पनि खुसी साटिरहनुभएको छ,’ उनले भनिन्, ‘तैपनि ८ वर्षसम्म न्याय नपाउँदाको पीडा पूरै भुल्न सकेकी छैन ।’ सबैले थाहा पाएको, पहुँचमा पुगिसकेको घटनामा न्याय पाउन यतिका वर्ष लाग्यो, बोल्नै नसक्ने दिदीबहिनीको अवस्था कस्तो होला भनेर सोच्ने गरेको उनले बताइन् । उनी बीएल चौथो वर्षमा पढ्दै छिन् ।
०६८ चैत ९ गते ठूलोबुबाकी छोरीका घरमा बसेर बैतडीको पाटन बजारमा एसएलसी दिन गएका बेला उनीमाथि कहालीलाग्दो घटना भएको थियो । ‘करिब ७ वर्ष दुःखकष्टका साथ बिते,’ उनले भनिन्, ‘१३ वर्षकै उमेरमा अदालत धाएँ । पत्रकारलाई जवाफ दिएँ । आश्रय दिएको संस्थामा पनि कोही आयो कि म फलानो भनेर रुँदै पीडा सुनाउन लगाइन्थ्यो ।’
जिल्लाले दिएको न्याय पुनरावेदनले फेरि खोस्यो । ‘अहिले सर्वोच्चले पुनरावेदनको फैसला उल्ट्याएकामा खुसी लागेको छ तर पाउनु दुःख पाएँ,’ उनले भनिन्, ‘मैले मात्र कहाँ हो र, घरपरिवारले पनि दुःख पाए । सधैं तनाव र त्रासमा रह्यौं ।’
घटनापछि उपचार गर्न काठमाडौंमा रहेका बेला परिवारलाई समेत जानकारी नदिई प्रहरीले हल्लाका भरमा मुचुल्का बनाएर पेस गरेकामा उनको असन्तुष्टि छ । ‘पीडितलाई थाहै नदिई मुचुल्का उठाउने प्रहरीलाई कारबाही भएन,’ उनले भनिन्, ‘प्रहरीले बजारको हल्लाका पछाडि लागेर मुचुल्का उठाएको हो । मैले अदालतमा आफूले भोगेको घटनाबारे सुनाएँ ।’ रक्षा नेपालमा बसेर १२ कक्षा उत्तीर्ण गरुन्जेल र ३ वर्षसम्म कानुन पढ्दासमेत पीडामाथि पीडा दिइएको उनले बताइन् । ‘सम्झनै नचाहेको घटना कोट्याएर, भन्न लगाएर बारम्बार रुवाइयो,’ उनले भनिन् ।
अरूले पीडा दिए पनि उनको परिवारले भने अहिलेसम्म पीडाको महसुस गराएको छैन । ‘मुद्दा मिलाउनका लागि लाखौं रकमको लालच आए पनि बुबाआमा, दाजुभाइ र दिदीबहिनीले न्यायको लडाइँमा साथ दिइरहनुभयो,’ उनले भनिन्, ‘जस्तोसुकै अवस्थामा पनि परिवारको साथ पाएको छु, गर्व महसुस हुन्छ ।’ बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सरकारले उपचार खर्च भनेर दिएको १ लाखबाहेक अन्य कुनै सहयोग नपाएको उनले बताइन् ।
पढाइ सकेर वकिल बन्ने र हिंसामा परेका महिलालाई सहयोग गर्ने चाहना उनको छ । ‘एक दिन न्यायाधीश बनेरै छोड्छु,’ उनले भनिन्, ‘अरू चेलीले न्यायका लागि मैलेजस्तै संघर्ष गर्नुपर्ने अवस्था अन्त्य भएको दिन पूर्ण न्याय पाएको महसुस गर्नेछु ।’

Page 2
समाचार

असंलग्न अभियानबाट असमानता अन्त्य : ओली

- कान्तिपुर संवाददाता

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियानलाई विश्वव्यापी असमानता सदाका लागि अन्त्य गर्न सक्ने गरी बलियो र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । असंलग्न अभियानका राष्ट्र तथा सरकार प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अभियानलाई विकासका चुनौती समाधान गर्दै साझेदारीपूर्ण समृद्धि प्राप्तिका लागि अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले असंलग्नता अभियानले विकासशील मुलुकको क्षमता बलियो बनाउन भूमिका खेल्न सक्ने बताए । उनले असंलग्न अभियानको संस्थापक सदस्यका रूपमा नेपाल अग्रपंक्तिमा रहेर जिम्मेवारी निर्वाह दृढ रहेको बताए । उनले ६४ वर्ष अगाडि एसिया तथा अफ्रिकाका नेताहरू इन्डोनेसियाको बाङडुङमा तत्कालको आवश्यकताका भेला भएको र उनीहरूले मुलुकहरूबीच सम्बन्ध सञ्चालन गर्न नयाँ सिद्धान्त विकास गरेको उल्लेख गरे । ती सिद्धान्तले संयुक्त राष्ट्रसंघको घोषणापत्रका सिद्धान्तलाई सम्मान र पालना गर्ने, राष्ट्रिय स्वतन्त्रता, सार्वभौम समानता र क्षेत्रीय अक्षुण्णतालाई समर्थन गर्ने, आन्तरिक मामिलामा अहस्तक्षेपलाई कायम राख्ने तथा विवादहरू शान्तिपूर्ण तरिकाले समाधान गर्ने उनले बताए । ‘यी सिद्धान्तहरू पवित्र छन् । यिनलाई पालना गर्न नसकिए विश्वमा अराजकता छाउँछ,’ प्रधानमन्त्री ओलीले भने । उनले प्रजातन्त्र, समावेशी, न्यायपूर्ण, उचित विश्व व्यवस्था प्राप्त नभएसम्म असंलग्न अभियानको सान्दर्भिकता रहने बताए । ‘असंलग्न अभियान शान्ति, सुरक्षा, न्याय तथा विकासको पर्याय भएको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले हरेक तीन वर्षमा नेताहरू आन्दोलनको मूल्यांकन गर्न भेला भई नयाँ कार्यदिशा परिभाषित गर्ने गरेको बताए । उनले भेलाको अन्त्यमा जारी हुने घोषणापत्रमा सामूहिक विवेकले स्थान पाए पनि निर्णय सही अर्थमा कार्यान्वयन गर्ने प्रणाली विकास भए/नभएको, अभियानको राजनीतिक सन्देश कार्यान्वयनमा लक्ष्यमा पुग्न प्रयास गरे/नगरेको, सदस्य मुलुकभित्रै गहिरो रूपमा जरा गाडेको द्वन्द्व तथा भिन्नतालाई विश्लेषण गरे/नगरेको तथा एकताको अवधारणामा समाधान गर्न प्रयास गरे/नगरेको प्रश्न गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले आफूले बुद्ध तथा सगरमाथाको भूमिबाट शिखर सम्मेलनको सफलताका लागि शुभकामना ल्याएको उल्लेख गर्दै असंलग्न आन्दोलनको बाङडुङ सिद्धान्तलाई नेपालको संविधानमा आधारभूत विदेश नीतिका अंगका रूपमा राखिएको उल्लेख गरे । नेपालले ‘सबैसँग मित्रता राख्ने र कसैसँग शत्रुता नराख्ने’ कुरामा विश्वास गरेको र शान्ति, प्रजातन्त्र, विकास तथा मानव अधिकार आपसमा जोडिएको नेपालको अनुभवले देखाएको उनले बताए । ‘समग्र प्रजातन्त्रमा मात्र मानव अधिकारको सही अर्थ पाउन सकिन्छ । गरिबीबाट मुक्ति, समान अवसरमा पहुँच, जीवन, सुरक्षा तथा आत्मसम्मानको अधिकार व्यक्तिले उपभोग गर्न पाउने अवस्थाको पक्षमा म उभिएको छु,’ उनले भने, ‘व्यक्तिको सशक्तीकरण राजनीतिक अधिकारबाट मात्र पर्याप्त छैन । भोको र घरविहीन व्यक्तिका लागि राजनीतिक अधिकारको कुनै काम छैन । यसैले नेपालमा कुनै पनि व्यक्ति भोको र आश्रयविहीन भएर मर्न नपरोस् भनी मानवचक्रका सम्पूर्ण भाग समेट्ने गरी सामाजिक सुरक्षा प्रणाली तयार गरिएको छ ।’
प्रधानमन्त्री ओलीले मौसम परिवर्तनले संकटको रूप लिएकाले सचेत भएर नेपाल सरकारले आगामी अप्रिलमा विश्वव्यापी ‘सगरमाथा संवाद’ आयोजना गर्ने निर्णय गरेको बताए । संवादको नारा ‘हिमाल, मौसम परिवर्तन तथा मानवताको भविष्य’ रहने उनले जानकारी दिए । ‘पृथ्वी सबैका लागि समान हुन् र उनले सबै मानवको आवश्यकता विवेकपूर्ण रूपमा पूरा गर्न पर्याप्त साधन दिएकी छन् । हामी अति लालच तथा सहनै नसकिने अभावको अवस्थामा बाँच्न सक्दैनौं । वातावरणीय विपत्ति तथा सामाजिक द्वन्द्वको प्रमुख कारण गहन लालच हो । हामीले दिगो विकासको लक्ष्यबाट कोही पनि पछि नपर्ने समृद्धि सबैका लागि सुनिश्चित गर्नुपर्छ र भविष्यका पुस्ताको आवश्यकतामा बाधा नपर्ने गरी पृथ्वीलाई सुरक्षित गर्नुपर्छ,’ उनले भने ।

समाचार

शीर्ष नेतासँग साइडलाइन वार्ता

- कान्तिपुर संवाददाता

विभिन्न मुलुकका राष्ट्र प्रमुखहरूको सहभागितामा असंलग्न अभियान (नाम) को १८ औं शिखर सम्मेलन शुक्रबार अजरबैजानको राजधानी बाकुमा सुरु भएको छ । भेनेजुएलाका राष्ट्रपति एवं नामका निवर्तमान अध्यक्ष निकोलस मादुरोले अध्यक्षता गरेको कार्यक्रममा अजरबैजानका राष्ट्रपति इहम अलिएभलाई नामको नयाँ अध्यक्ष चुनियो ।
कार्यक्रमका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति भेन्कैह नायडुबीच साइडलाइन वार्ता गरे । ओलीले माल्दिभ्सका परराष्ट्रमन्त्री अब्दुल्लाह साहिदसँग पनि साइडलाइन वार्ता गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बाकुबाट कान्तिपुरलाई जानकारी दिए । उक्त अवसरमा ओली र साहिदले नेपाल र माल्दिभ्सले एउटै किसिमका दिगो विकास, जलवायु परिवर्तन र खाद्यान्न सुरक्षामा चुनौती सामना गर्नुपरेको विषयमा छलफल गरेका थिए । सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उपाध्यक्षमा चुनिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । साइडलाइन वार्तार्कै क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केन्याका उपपरराष्ट्रमन्त्री अबबु नामवामबासँग द्विपक्षीय वार्ता गरेका थिए । उनले संयुक्त राष्ट्रसंघको ७४ औं सत्रमा अध्यक्षता गरेका नाइजेरियाका तिज्जनी मोहम्मद बान्डेलाई पनि साइडलाइनमा भेटेका थिए ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले ‘बाङडुङ सिद्धान्तलाई आत्मसात् गर्दै वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतीको प्रतिक्रिया दिने’ शीर्षकमा शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । यसैबीच प्रधानमन्त्री ओलीले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेअयुलाई दोस्रो कार्यकालका लागि समेत निर्वाचित भएकामा बधाई दिएका छन् ।

समाचार

‘प्रदेशमाथि संघ हाबी’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– संघीय संविधान जारी भएको चार वर्ष भइसक्दासमेत प्रदेशमाथि संघ हावी बन्ने सम्झावना रहेको एक अध्ययनले देखाएको छ । डेमोत्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले गरेको स्थलगत अध्ययनअनुसार संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन सकेको छैन ।
तीन तहका योजना र कार्यक्रम दोहोरिने समस्या पनि उत्तिकै रहेको अध्ययनमा देखिएको छ । ‘संघले प्रदेशको कार्य विवरणअनुसार संरचना हस्तान्तरण गर्न आनाकानी गरिराखेको छ । संघीय संसद्मा दर्ता भएका महत्त्वपूर्ण विधेयकका प्रावधानले प्रदेशका संरचना निर्माण र त्यसको काममा सहयोगी बन्नेभन्दा संघलाई नै बलियो बनाउने संकेत देखिएका छन्,’ अध्ययनको निष्कर्ष छ, ‘यसले प्रदेश र संघीय सरकारबीच असमझदारी बढाउँछ, प्रदेश संरचनाको कार्यसञ्चालनमा पनि प्रतिकूल असर पार्न सक्छ ।’
डीआरसीएनको तीन अध्ययन टोलीले वैशाखदेखि साउनसम्म सातै प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, प्रादेशिक निकायका कर्मचारी, राजनीतिक प्रतिनिधि र नागरिक समाजका सदस्य, पत्रकार र नागरिकसँग अन्तर्वार्ता लिँदै संघीय संरचनामा प्रादेशिक निकायको स्थापना र कार्यसञ्चालनबारे अध्ययन गरेको थियो । अध्ययनमा प्रदेशस्तरीय र संघीय तहका १ सय ९५ सरोकारवालासँग छलफल गरिएको डीआरसीएनले जनाएको छ ।
अध्ययनले प्रादेशिक निकायको प्रभावकारी कार्यसञ्चालनका लागि लोकसेवा, निजामती सेवा, प्रहरी सेवा, आन्तरिक सुरक्षाजस्ता संघीय कानुनहरू अविलम्ब जारी गरिनु खाँचो औंल्याएको छ । संघ सरकारले यस्ता कानुन बनाउँदा संविधानमा उल्लिखित एकल र साझा क्षेत्राधिकारको सम्मान गरी प्रदेश र स्थानीय सरकारसँग पर्याप्त समन्वय र सहकार्य गर्न अध्ययनले सुझाव दिएको छ । यस्तै प्रदेशले संघीय संरचनाको हुबहु अनुसरण गर्नुभन्दा आफ्नो आवश्यकता अनुसार संरचना निर्माण गर्न प्राथमिकता दिनुपर्ने सुझाव पनि अध्ययनको छ । ‘नयाँ प्रादेशिक निकाय स्थापना गर्दा उनीहरूको स्पष्ट कार्यक्षेत्र निर्माण गरी बजेट कार्यान्वयन, समन्वय र अनुगमनजस्ता विषयमा स्पष्ट मापदण्ड तथा अख्तियारी निश्चित गरिनुपर्छ,’ अध्ययनको सुझाव छ ।
अध्ययन प्रतिवेदनमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले प्रदेशका नेताहरूमा प्रदेशबारे योजना नभएको बताए । ‘प्रदेशले संविधानअनुसार कानुन ल्याउनुपर्छ । प्रदेशमा सबै कानुन बनाउन सबै संघको कानुनलाई पर्खनु पर्दैन,’ उनले भने, ‘केन्द्रले गरेका क्रियाकलाप संविधानअनुकूल छैन भने प्रदेशले अदालतमा गएर चुनौती दिनुपर्छ । प्रश्न गरेर चुनौती नदिएसम्म केही हुँदैन । संस्थामात्र खडा भएर हुँदैन, काम पनि हुनुपर्छ ।’
यस्तै, डीआरसीएनले वैशाखदेखि साउनसम्म आठ जिल्लाका १५ स्थानीय तहमा स्थलगत अध्ययन गरी स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयनबारे प्रतिवेदन तयार गरेको छ । सुनसरीको दुहवी नगरपालिका, पर्साको पोखरिया नगरपालिका र ठोरी गाउँपालिका, भक्तपुरको भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका र कोन्ज्योसोम गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मालिका गाउँपालिका, नवलपरासी पश्चिमको सुनवल नगरपालिका र सुस्ता गाउँपालिका, सल्यानको बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका, बझाङको जयपृथ्वी नगरपालिका र वित्थडचिर गाउँपालिकामा स्थलगत अध्ययन गरिएको हो ।
स्थानीय सरकारले बजेट कार्यान्वयन क्षमता बढाउन प्रशासनिक क्षमता बढाउनुपर्ने सुझाइएको छ । स्थानीय सरकारलाई चाहिने प्रशासनिक र प्राविधिक साधनस्रोत अभाव र अपारदर्शी अभ्यासले बजेट कार्यान्वयनमा ढिलाइ भएको अध्ययनले देखाएको छ ।

समाचार

जुन बेला बग्थ्यो काठमाडौंका नदीमा सुन

- हिमेश

(काठमाडौं) - नेपाल संवत् ११४० मंगलबार सुरु हुँदै छ । कार्तिक शुक्ल प्रतिपदादेखि नयाँ वर्ष सुरु हुन्छ । यो दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुन्छन् । एकले अर्कालाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्छन् । म्ह पूजा गर्छन् । र, सम्झिन्छन्, शंखधर साख्वालाई । उनै त हुन्, नेपालको मौलिक संवत्— नेपाल संवत्का प्रवर्तक ।
यो संवत्बारे एउटा गज्जबको किंवदन्ती छ । शंखधरले एक खास साइतमा घरमा ल्याएको सबै बालुवा सुन बन्यो । त्यही सुनको सहयोगले उनले जनताको ऋण तिरिदिए । तिनै जनता ऋणमुक्त भएको खुसियालीमा नयाँ संवत् सुरु भयो । के यस्तो सम्भव हुन्छ ? बालुवा सुनमा परिणत हुन सक्छ ? नेपाल संवत्बारे लामो समयदेखि अनुसन्धान गरिरहेका मल्ल के सुन्दर भन्छन्, ‘यो पक्कै पनि वैज्ञानिक सुनिन्न ।’
आखिर त्यतिबेला के भएको थियो ? पहिले, शंखधरबारे ।
उनी व्यापारी थिए । वंशावली र जनविश्वासअनुसार काठमाडौं इलाछेंका बासिन्दा हुन् उनी । इलाछें अहिलेको भीमसेन स्थान हो । त्यहाँ अहिले भीमसेनको मन्दिर छ । त्यतिबेला तिब्बतसँग काठमाडौंको राम्रो व्यापारिक सम्बन्ध थियो । सुनिन्छ, शंखधरको परिवारले तिब्बतसँग व्यापार गर्थ्यो । केशर पुस्तकालयमा रहेको वंशावलीअनुसार राजा राघवदेवको समयका थिए, शंखधर । उनले नयाँ संवत् स्थापना गरे र यसलाई पशुपतिमा चढाए । राघवदेवको पालादेखि नै शक संवत्को चलन सकिन्छ र नेपाल संवत् सुरु हुन्छ ।


कुरा यस्तो हो
नयाँ संवत्को नाम सुरुमै नेपाल संवत् थिएन । आरम्भताका यसलाई श्री संवत् भनियो । स्थापनाको सय वर्षपछि यसले औपचारिक रूपमा नेपाल संवत्को नाम पायो । नेपालको इतिहासअनुसार लामो समयसम्म चलेको लिच्छवि वंशबारे जानकारी एकाएक हराउँछ र सुरु हुन्छ, २ सय ५० वर्षभन्दा बढीको अन्धकार युग । त्यो समय कसले, कसरी शासन गरेको थियो, त्यसबारे पर्याप्त जानकारी नै छैन । राघवदेवदेखि मात्र पुनः ऐतिहासिक स्रोत खुल्छ । उनी आफैं लिच्छवि थिएनन् । उनी थिए नुवाकोटबाट आएका वैश्य ठकुरी ।
यसअघि काठमाडौंको राजनीतिक एवं प्रशासनिक केन्द्र हाँडीगाउँ विशालनगर थियो तर एक समयमा आएर त्यहाँको सभ्यता नासियो । यसका कारण धेरै हुन सक्छन्, महामारी अथवा आगलागी । कारण जेसुकै भए पनि त्यसपछि त्यहाँका बासिन्दा स्थानान्तरण भएर अहिलेको कान्तिपुरमा आए । यो त्यही समय हो, जति बेला काठमाडौं उपत्यकामा बौद्ध धर्मअन्तर्गत वज्रयानको प्रभाव सुरु भयो । सुरुमा महायानी बौद्ध धर्मको प्रभाव थियो, पछि त्यसकै हाँगो वज्रयान प्रभावी बन्यो । त्यही बेला काठमाडौं उपत्यकामा ठूलाठूला विहार पनि बने । पाटनको हिरण्यवर्ण महाविहारदेखि काठमाडौंको केशचन्द्र महाविहार त्यसै बेला बनेका हुन् ।
सायद शंखधर पनि वज्रयानबाट प्रभावित भए । उनी तिब्बतसँगको व्यापारमा पनि थिए । हुन सक्छ, त्यहाँका धर्मगुरुहरूबाट पनि उनी प्रभावित थिए । उनमा बोधिचित्त उत्पन्न भएको हुनुपर्छ, दानपारमिताले प्रभाव पारेको हुनुपर्छ । यसै क्रममा उनले जनतालाई ऋणमुक्त गर्न आफूले आर्जन गरेको सम्पत्ति दान दिए ।
नेपाल संवत्बारे अध्ययनका क्रममा मल्ल के सुन्दर यस्तो निष्कर्षमा पुगे– शंखधरले घरमा ल्याएको बालुवा सुनमा परिणत भएको होइन । बरु उनी मान्छन्– नदीमा बगेर आउने बालुवामा सुन पनि हुन्छ । शंखधरको घरनजिकै लखुतीर्थ छ । त्यो तीर्थ अहिले डल्लुमा पर्छ । लोकविश्वासअनुसार उनले त्यहीँ सुन पाएका थिए ।
शंखधरले नदीमा आफ्ना कामदार लगाए । बालुवा चालेर सुन निकाल्न लगाए । खोला–नदीको बालुवा चालेर सुन निकाल्ने चलन विश्वमा पहिले पनि थियो । अहिले पनि यथावत् छ । यो कामबाट उनी निकै धनी भए । त्यो सम्पत्ति उनले निजी स्वार्थका लागि प्रयोग गरेनन्, लोककल्याणमा खर्चिए । जनताको टाउकामा रहेको ऋण चुक्ता तिरिदिए । अनि सुरु भयो, नेपाल संवत् ।


स्वयम्भू ः सुनको खानी
मल्ललाई सम्झना छ, उनी किशोर छँदा शोभाभगवतीमा इन्द्रायणी नदीअगाडि सुन खोज्नेहरू प्रशस्त भेटिन्थे । धोबीचौरबाट ओरालो लाग्ने ठाउँमा त्यतिबेला सानो खोला बग्थ्यो । त्यहाँ पनि सुन खोजिन्थ्यो ।
कुनै समय खानी विभागले स्वयम्भूको डाँडाबारे अनुसन्धान गरेको थियो । उसले भनेको थियो, स्वयम्भूमा सुनको खानी छ । ०२६–२७ सालतिर खानी विभागले लैनचौरमा एउटा प्रदर्शनी राखेको थियो । त्यसमा स्वयम्भूमा भेटिएको भनेर सुनको एक ढिक्का पनि राखिएको थियो । मल्ल स्वयंले त्यो ढिक्का देखेका थिए ।
स्वयम्भू वरिपरि दुई खोला बग्छन् । एउटा हो, भचाखुसी । यो शोभाभगवतीमा पर्छ । उत्तरबाट बग्छ । अर्को दक्षिणबाट बग्छ र पुग्छ, त्यही लखुतीर्थमा । लखुतीर्थको उद्गम नै स्वयम्भू पछाडि हो । सुनको खानी भएको पहाडको छेउछाउबाट बगेका खोला–नदीमा सुन पाइने सम्भावना पनि धेरै हुन्छ । अहिले पो त्यहाँ पानी छैन ।
‘त्यही लखुतीर्थमा शंखधरले बालुवा चालेर सुन निकालेको तर्क भने वैज्ञानिक मान्न सकिन्छ,’ मल्लले भने, ‘कुनै बेला काठमाडौंका खोला–नदीमा सुन बगेर आउँथ्यो ।’ शंखधर पक्कै ऐतिहासिक व्यक्ति हुन्, जो काठमाडौंका व्यापारी थिए । उनीसँगै कसरी नेपाल संवत् सुरु भयो, यी सबै त्यस पछाडिका तर्क हुन् ।

समाचार

गायक भिटेन तारेखमा छुटे

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रयुक्त शब्द–शैलीका कारण पक्राउ परेका र्‍यापर भिटेन भनिने समीर घिसिङ शुक्रबार तारेखमा छुटेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले गायक भिटेनलाई अभिभावकको जिम्मा लगाइएको जानकारी दिइन् । भिटेनलाई कात्तिक १३ गते कार्यालयमा बोलाइएको छ । उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरिएको पनि एसपी सिंहले बताइन् । गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खान प्रोत्साहन गरिएको जस्ता सामाजिक मर्यादाविपरीतका विषयवस्तु रहेको भन्दै प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको थियो । प्रहरीले केही दिनअघि मात्रै ‘ह्याप्पी तिहार, चिसो बियर’ का गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएर गीतका केही शब्द हटाउने सर्तमा छाडेको थियो ।

समाचार

३ विदेशी एयरलाइन्स थपिए

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने विदेशी एयरलाइन्सको संख्या ३१ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको ‘स्पाइसजेट’, कुवेतको ‘जजिरा एयरवेज’ र भारतकै ‘एयर भिस्टारा’लाई नेपाल उडानको अनुमति दिएपछि काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स ३१ पुगेका हुन् । यसअघि २८ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्थे । मन्त्रालयको अनुमतिलगत्तै नागरिक उड्डयन प्राधिकरणले कुवेतको जजिरा एयरवेजलाई सातामा ७ वटा उडान अनुमति दिइसकेको विमानस्थलका एक अधिकारीले बताए । जजिरा हरेक दिन दिउँसो ४ः२० मा कुवेतबाट काठमाडौं आउने तालिका छ । भारतको स्पाइसजेट र भिस्टारा उडान तालिका पाउने प्रक्रियामा छन् । ‘यी दुई भारतीय एयरलाइन्सको कागजात अध्ययन भइरहेको छ, मंसिर दोस्रो सातासम्म उडान तालिका उपलब्ध गराउँछौं,’ प्राधिकरणका एक अधिकारीले कान्तिपुरसँग भने । 

समाचार

पूर्वआईजीपी सिंहको निधन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) हेमबहादुर सिंहको ८३ वर्षको उमेरमा निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार क्रममा बिहीबार मुटु र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित सिंहको निधन भएको हो । सिंहले ०४३ देखि ०४७ सम्म प्रहरीको नेतृत्व गरेका थिए । प्रहरी नेतृत्वमा रहँदा उनले तत्कालीन पाँच विकास क्षेत्रमा प्रहरी विद्यालय स्थापना गरेका थिए । पशुपति आर्यघाटमा बिहीबारै सिंहको अन्तिम संस्कार गरिएको छ । सिंहका दुई छोरा छन् । उनका दुवै श्रीमतीको निधन भइसकेको छ ।

समाचार

'सी भ्रमण उपलब्धिमूलक'

- कान्तिपुर संवाददाता

काभ्रे (कास)– पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सबै दृष्टिले उपलब्धिमूलक भएको बताएका छन् । नेकपा काभ्रेले बनेपामा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले सी यहाँको व्यवस्थापन र शान्ति सुरक्षा देखेर प्रफुल्लित भएको दाबी गरे । ‘चिनियाँ राष्ट्रपतिले नेपालमा एक रात पनि बिताउनुभएको छ,’ उनले भने, ‘ठूला देशका मान्छे सुरक्षाको दृष्टिकोणबाट संवेदनशील हुन्छन् तर फर्कंदा उहाँको अनुहारमा छुट्टै चमक थियो ।’ चीनका राष्ट्रपति सीले नेपाललाई भूजडित राष्ट्रका रूपमा व्यख्या गरेको उल्लेख गर्दै नेता नेपालले दक्षिणतर्फ मात्रै नभई उत्तरतर्फबाट पनि समुद्रसँग जोडिन चाहेको बताए । कांग्रेसले अवसर पाउँदा देश बर्बाद पार्ने काम गरेको आरोप लगाउँदै उनले मन जित्ने काम गरे जनताले पटकपटक निर्वाचित गराउने तर्क गरे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेमा विमानस्थल बनाउन डीपीआर निर्माण भइरहेको बताए । ‘काभ्रेलीको चाहनाभन्दा पनि विमानस्थलको आवश्यकताका आधारमा काम सुरु भएको हो,’ उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप व्यवस्थापन गर्न काभ्रेमा विमानस्थल आवश्यक छ भनेका हौं ।’ काभ्रेमा विमानस्थल आवश्यक नभएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

Page 3
समाचार

म ओरिजिनल माओवादी होइन : दाहाल

- कान्तिपुर संवाददाता

मोरङ (कास)– नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफू सक्कली माओवादी नभएको बताएका छन् । नेकपा मोरङले चाडपर्वका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा तत्कालीन एमाले र एकता केन्द्रबीच एकताको प्रसंग निकाल्दै उनले भने, ‘म पनि ओरिजिनल मसाल र माओवादी होइन, चौथो अधिवेशनको मदन भण्डारी हुँ भन्न पनि चाहन्नँ ।’
एकताको कुरा नटुंगिँदै भण्डारीको हत्या भएको दाहालले बताए । ‘०४६ सालमा तत्कालीन एमाले र एकता केन्द्रलाई मिलाउन भण्डारीसँग छलफल भएको थियो,’ उनले भने, ‘पछि हामीले एकीकरणकै एजेन्डा बनाएर छलफल मिति, कार्यक्रम तय गरी खानेकुराको लिस्टसमेत बनाएका थियौं तर दुर्भाग्य उहाँको हत्या भयो र एकता हुन सकेन । एकता भएको भए देशलाई सय/पचास वर्षअगाडि ल्याउन सकिन्थ्यो ।’
अहिले पार्टी एकताको काम सोचेजस्तो अघि नबढेको भन्दै उनले असन्तुष्टि जनाए । ‘एकता अन्तिम चरणमा पुगेकाले अब एक दिन अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग ३/४ घण्टा लगातार छलफलमा बसेपछि निष्कर्षमा पुग्छौं,’ उनले भने,
‘जनताको चाहना, राष्ट्रिय र ऐतिहासिक आवश्यकताका आधारमा एकता भएकाले झिनामसिना कुरालाई थाँती राखेर टुंग्याउनुको विकल्प छैन ।’
जितहारको राम्रो अनुभव गरेका दुई पार्टीबीच विचार मिलेर एकता भएकाले यसलाई आँखाको नानीजस्तो माया गर्न उनले कार्यकर्तालाई आग्रह गरे । ‘नपत्याउँदो किसिमले ०६४ सालमा जित्दा कसरी धर्ती छाडिँदो रहेछ र अहंकार कसरी आउँदो रहेछ भन्ने राम्रो अनुभव भइसकेको छ, पूर्वएमालेका साथीहरूलाई पनि ०६४ मा नराम्रो तरिकाले हार्दाको अनुभव छ,’ उनले भने, ‘०७० सम्म आउँदा माओवादी कमजोर भएको र अहिले अपत्यारिलो किसिमले झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको अनुभवसहित पार्टी एकता भएको छ ।’ उनले २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवाद दुवै एउटै भएको बताए ।


ॅआलोपालो प्रधानमन्त्रीको सहमति छैन’
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेका बेला कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँग भेटमा उनले सहमतिकै आधारमा दुई अध्यक्ष बनेर पार्टी चलिरहेको प्रतिक्रिया दिए । ‘आलोपालो प्रधानमन्त्री बन्ने विषयमा कुनै संस्थागत सहमति भएको छैन । आवश्यकताअनुसार पार्टीले जोकोही नेतालाई कामको जिम्मेवारी दिन सक्छ,’ उनले भने ।

समाचार

देउवा–दाहालको जोड 'प्याकेज सहमति'

संवैधानिक र संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा नियुक्ति
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाकै अध्यक्ष पुष्पकमल दाहालले ‘प्याकेज सहमति’ मा जोड दिएपछि आयोगहरुमा पदाधिकारी नियुक्ति ढिला हुने भएको छ । देउवाले रिक्त रहेका सबै आयोगमा भागबन्डा हुनुपर्ने आशय व्यक्त गरेका छन् ।
- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न राष्ट्रहरूको सम्मेलनमा जानुअघि संक्रमणकालीन न्यायसँग जोडिएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा अध्यक्षको टुंगो लगाउन चाहेका थिए । समझदारी जुटाउन उनले बुधबार बालुवाटारमा प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई छलफलमा बोलाए ।
देउवा आफ्ना दुई सहयोगी मीनेन्द्र रिजाल र रमेश लेखकका साथ बालुवाटार पुगेका थिए । सत्तारूढ दलबाट प्रधानमन्त्री ओलीसहित पार्टी अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भए । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले ६ महिनादेखि रिक्त दुई आयोगका पदाधिकारी नियुक्तिसम्बन्धी
प्रसंग निकाले ।
भदौ ४ गते पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउने अनौपचारिक सहमति भत्किएपछि ओली अर्को अध्यक्षको सहमतिको प्रयासमा थिए ।
श्रेष्ठको नाम आउनुअघि कानुन व्यवसायीहरू सूर्य ढुंगेल र गोविन्द बन्दीको नाम मुख्य चर्चामा थियो । ओलीले सुरुदेखि नै बन्दीलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन चाहेका थिए । उनको यो चाहनालाई दाहालले साथ दिए पनि देउवाले मानेनन् । एमाले पृष्ठभूमिको भएकै कारण हच्किएका देउवाले सुरुदेखि पूर्वराष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकार रहेका सूर्य ढुंगेलको नाम अघि सारेका थिए ।
यसअघि कांग्रेसनिकट ढुंगेल र पूर्वएमाले पृष्ठभूमिका बन्दीका नाममा भएका छलफल सहमतिमा पुग्न नसकेपछि बीचको बाटोबाट श्रेष्ठका नाममा अनौपचारिक समझदारी बनेको थियो । उनी तत्कालीन दाहाल नेतृत्वको सरकारमा महान्यायाधिवक्ता थिए तर द्वन्द्वपीडितको संस्था साझा चौतारीले श्रेष्ठलाई नस्वीकार्ने भएपछि नेताहरू पछि हटे । श्रेष्ठलाई बनाएमा पीडितले आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए । महान्यायाधिवक्ता छँदा श्रेष्ठले आममाफीको व्यवस्था गरेर द्वन्द्वकालीन घटनामा पीडक र पीडितबीच मेलमिलाप गराउने कानुनी बाटो ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरेकै कारण पीडित उनको विरोधमा उभिएका थिए ।
पीडितले नमान्ने भएपछि सत्तारूढ दलले बन्दीकै नाम अघि सारेको छ । देउवाले कुनै निर्णय नदिई अन्य संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा पनि छलफल हुनुपर्ने माग गरेका छन् । ‘बन्दीलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउने हो भने अन्य आयोगमा आफ्नो पार्टीको हिस्सा हुनुपर्ने मनसाय उहाँले व्यक्त गर्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘भाग पनि चाहियो भन्नुभयो तर कुन–कुन आयोगमा के–के माग्नुभएको हो, प्रस्ट भन्नुभएन । आशय बुझ्दा प्याकेजमै सहमति हुनुपर्छ भन्ने थियो ।’
ओलीले अजरबैजान जानु दुई दिनअघि अन्य आयोगको पदाधिकारी नियुक्तिसम्बन्धी विषयमा निर्णय लिन संवैधानिक परिषद्को बैठकसमेत बोलाएका थिए । देउवा अनुपस्थित हुने भएपछि बैठक बसेन । भोलिपल्ट संक्रमकालीन न्यायसँग जोडिएका आयोग गठनका विषयमा भएको छलफलमा देउवाले सबै आयोगको नियुक्तिका विषयमा सहमति गरेर मात्रै संवैधानिक परिषद् बैठक राख्न भनेका हुन् । देउवा र नेकपा अध्यक्ष दाहालले समेत प्याकेज समझदारीका लागि दबाब दिएपछि आयोगमा पदाधिकारी नियुक्तिमा अझै ढिलाइ हुने छनक देखिएको छ ।
देउवाले यस विषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसँग छुट्टै कुरा गर्न चाहेका छन् । ‘त्यस दिन दुवै पार्टीबाट अन्य सहयोगीसमेत भएकाले उहाँले मुख नखोल्नुभएको होला,’ स्रोतले भन्यो, ‘तर देउवाजीले प्याकेजमै सहमति चाहनुभएको छ ।’
देउवा यसअघि संवैधानिक परिषद्को बैठकमा अनुपस्थित रहँदै आएका थिए । माघ ६ गते उनको अनुपस्थितमै बसेको परिषद् बैठकले नयाँ–पुराना गरी ६ वटा संवैधानिक आयोगका प्रमुख सिफारिस गरेको थियो । आफ्नो अनुपस्थितमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेसी, थारू र मुस्लिम आयोगका प्रमुख सिफारिस गरेपछि देउवा प्रधानमन्त्रीसँग चिढिएका थिए ।
त्यसपछि चैत ११ मा परिषद् बैठक फेरि बस्यो । उक्त बैठकले पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । कांग्रेसले यसलाई केही समय राजनीतिक मुद्दा पनि बनायो । संसदीय समितिमा सिफारिस पदाधिकारीको सुनुवाइसमेत कांग्रेसले बहिष्कार गर्‍यो । तर पार्टीभित्रबाटै बारम्बार परिषद् बैठक बहिष्कार गर्न नहुने आवाज उठ्न थालेपछि देउवा अप्ठ्यारोमा पर्न थाले । बैठकमा पुगेरै आफ्नो दृष्टिकोण राख्न अन्य नेताले उनलाई सुझाव दिए ।
गत मंगलबार बोलाइएको बैठकमा सहभागी हुने कि नहुने भन्नेमा देउवाले पदाधिकारी बैठक बोलाएर छलफल गरे । बैठकले यसअघि परिषद्ले गरेका नियुक्तिको सिफारिस निष्पक्ष र स्वतन्त्र नभएको निष्कर्ष निकाल्यो । ‘आयोगलाई निष्पक्ष र स्वतन्त्र बनाउन परिषद्मा प्रतिपक्ष दलको नेतालाई समेत प्रतिनिधित्व गराउने व्यवस्था संविधानमा गरिएको हो, अन्य क्षेत्रमा जस्तो प्रधानमन्त्रीले संवैधानिक आयोगमा एकलौटी नियुक्ति गर्न मिल्दैन, त्यो वैधानिक व्यवस्था पनि होइन,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘आयोग स्वतन्त्र हुन सकेन भने यसको औचित्य रहँदैन भन्ने कांग्रेसको निष्कर्ष हो ।’
आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने संवैधानिक मान्यता भए पनि दलहरूबीचको भागबन्डाकै आधारमा पदाधिकारी नियुक्तिको अभ्यास हुँदै आएको छ । त्यस अभ्यासविपरीत प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलको सहमतिबिनै पाँचवटा आयोगका प्रमुख सिफारिस गरेपछि कांग्रेस चिढिएको हो । कांग्रेसले बाँकी आयोगका प्रमुख आयुक्त र आयुक्त नियुक्तिमा भने त्यस्तै रबैया नअपनाउन आग्रह गरेको छ ।
अहिले चारवटा आयोग नेतृत्वविहीन छन् । आदिवासी जनजाति, महिला, दलित आयोग पहिल्यैदेखि रिक्त छन् । शान्तराज सुवेदीले राजीनामा दिएपछि समावेशी आयोग पनि नेतृत्वविहीन छ । यीमध्ये दुई आयोगको नेतृत्वमा कांग्रेसले दाबी गरेको छ । ‘प्रधानमन्त्री पनि प्रतिपक्षसँग सल्लाह गरेरै अघि बढ्न चाहनुहुन्छ,’ ओलीनिकट एक नेताले कान्तिपुरसँग भने, ‘विदेशबाट फर्केपछि छलफल अघि बढ्ला ।’ उनका अनुसार प्रधानमन्त्री ओली चार आयोगमध्ये महिला आयोगको नेतृत्व कांग्रेसलाई दिन सकारात्मक छन् । देउवाको मुख्य जोड भने अख्तियारमा छ । अहिले अख्तियारमा दुई आयुक्त रिक्त छन् । दुईमध्ये एक आयुक्त आफ्नो पार्टीले पाउनुपर्ने देउवाको माग छ ।
नेतृत्व नपाएका अन्य आयोगका सदस्यमा पनि कांग्रेसले हिस्सा खोजेको छ । प्रत्येक आयोग नेतृत्वसहित पाँच सदस्यीय हुने संविधानमै व्यवस्था छ । प्रमुख नियुक्त भए पनि प्राकृतिक स्रोत तथा वित्त, मधेसी, थारू र मुस्लिम आयोगमा सदस्य रिक्त छन् । दुई आयुक्त रिक्त रहेको निर्वाचन आयोगमा पनि कांग्रेसले हिस्सा खोजेको छ ।
‘संवैधानिक आयोग सरकारभन्दा फरक चिज हुन्, यसलाई निष्पक्ष र स्वतन्त्र बनाउने हो भने व्यक्ति गौण हुन्छन्,’ कांग्रेस नेता महतले भने, ‘हामीले व्यक्तिभन्दा पनि आयोगको स्वतन्त्रता र निष्पक्षता खोजेका हौं ।’

समाचार

नेकपाबाट विद्या भट्टराई सर्वसम्मत

कास्की–२ उपनिर्वाचन
- कान्तिपुर संवाददाता

पोखरा (कास)– रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की क्षेत्र २ को उपनिर्वाचनमा नेकपाको कास्की जिल्ला कमिटीले विद्या भट्टराईको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटी बैठकले रवीन्द्रपत्नी भट्टराईको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नेकपा जिल्ला अध्यक्ष कृष्ण थापाले भट्टराईको नाम सर्वसम्मत अनुमोदन गरी प्रदेश कमिटीमा पठाएको बताए । शनिबार प्रदेश कमिटीको बैठकले टुंग्याएपछि केन्द्रमा पठाउने उनले जनाए । भट्टराईले प्रदेश र केन्द्रले टुंग्याउन बाँकी रहेको भन्दै यस विषयमा प्रतिक्रिया दिन चाहिनन् । उनले उम्मेदवारीबारे भने पार्टीभित्र पहिलेदेखि नै सल्लाह भइरहेको बताइन् । नेकपाको केन्द्रीय कमिटीले कात्तिक १० भित्र तीन जनाको नाम सिफारिस गर्न भने पनि जिल्लाले सर्वसम्मत निर्णय गरी भट्टराईको मात्रै नाम पठाएको हो । उनी हाल त्रिभुवन विश्वविद्यालयमा कार्यरत छिन् ।
उपनिर्वाचन नजिकिँदै जाँदा ठूला दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । साझा पार्टीले रजनी केसीलाई उम्मेदवार तोकेको छ । कांग्रेसले १६ आकांक्षीको नाम केन्द्रीय समितिमा पठाएको छ । समाजवादी पार्टीले तीन जनाको नाम सिफारिस
गरेको छ । मंसिर १४ मा देशभरका ५१ स्थानमा उपनिर्वाचन हुँदै छ । तीमध्ये प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको कास्की–२ मा मात्रै हो । निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा सदस्यको मनोनयनपत्र दर्ताका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि अपराह्न साढे १ बजेसम्मको समय निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार उम्मेदवारी मनोनयन भएकै दिन ३ बजेभित्र उम्मेदवारको सूची प्रकाशन गरिने, भोलिपल्ट उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशनको कार्यक्रम तोकिएको छ । उम्मेदवारी फिर्ता लिन कात्तिक २४ गते बिहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । २५ गते उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् ।

समाचार

“मिनी संसद्” का सभापति महिला भन्छन्– ‘कार्यकुशलता देखाउने अवसर पायौं’

- विद्या राई
संसद्को राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा सांसद । यो समितिको नेतृत्व शशी श्रेष्ठले गरेकी छन् । फाइल तस्बिर ः कान्तिपुर

(काठमाडौं) - राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टलाई ढल्कँदो उमेर र कार्यव्यस्तताको उति परवाह छैन । जिम्मेवारीअनुसार आफूले भूमिका निर्वाह गर्न सकिरहेकामा उनी मक्ख छिन् । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेकी ५६ वर्षीया भट्ट भन्छिन्, ‘मिनी संसद्को नेतृत्वमा छु । जिम्मेवारीले व्यस्त छु, सक्रिय छु । कुनै कसर बाँकी नराखी काम गरिरहेकी छु ।’
दिगो विकास समिति १४ सदस्यीय छ । यसले आफ्नो क्षेत्राधिकारअन्तर्गतका विषयमा नीति निर्माणका साथै कार्यान्वयनबारे सरकारलाई निर्देशन तथा सुझाव दिने काम गर्छ । समिति सभापति भट्टले गत सेप्टेम्बरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय महासभाको ७४ औं बैठकमा सहभागिता जनाइसकेकी छन् । ‘समितिको कामलाई फरक र प्रगतिमुखी बनाउन जतिसक्दो धेरै काम गरिराखेका छौं,’ उनले भनिन् ।
भट्ट पञ्चायती व्यवस्थामै नेपाली कांग्रेसमा आबद्ध भएर भूमिगत राजनीतिमा संलग्न थिइन् । ०२२ सालमा डडेलधुराबाट एसएलसी गरेकी उनले कञ्चनपुरको एक विद्यालयमा ०४२ सालदेखि ४० वर्षसम्म पढाइन् । उनले हरेक राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिन् । ०७४ को निर्वाचनबाट राष्ट्रिय सभामा प्रदेश ७ बाट प्रतिनिधित्व गर्दै समिति सभापतिको जिम्मेवारी पाएकी हुन् ।
संसदीय समिति हाँक्ने महिला सभापति उनी मात्र होइनन्, संसद्को विषयगततर्फ प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ४ र दुवै सभाका संयुक्त २ गरी १६ मध्ये ९ समितिमा महिला (५६ प्रतिशत) ले नेतृत्व गरिरहेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला (खरेल), कृषि, सहकारी तथा प्राकृतिक स्रोतमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिकमा निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासनमा शशी श्रेष्ठ, विकास तथा प्रविधिमा कल्याणीकुमारी खड्का र शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती सभापति छन् । यसैगरी राष्ट्रिय सभामा दिगो विकास तथा सुशासनमा भट्ट र राष्ट्रिय सरोकार तथा समन्वयमा दिलकुमारी रावल थापा (पार्वती) सभापति छन् । संयुक्तअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकनमा निरादेवी जैरु सभापति छिन् ।
‘मिनी संसद्’ भनिने संसद्को तल्लो सदनमा उठान भएका सवाललाई मिहिन ढंगले छलफल गरेर निष्कर्षमा पुर्‍याउने कामको नेतृत्व सभापतिहरूले गर्छन् । ‘पुरुषहरू सभापति भएको समिति कसरी चल्ला भन्ने प्रश्न उठाइएन तर महिलाको हकमा उठाइयो,’ राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठ भन्छिन्, ‘तर हामी सभापति महिलाले सक्रियतासाथ निरन्तर महत्त्वपूर्ण काम गरिरहेका छौं ।’ अवसर र जिम्मेवारीले महिलाले आफ्नो दक्षता देखाएको उनको भनाइ छ । आफ्नो समितिमा नियमावलीको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको नियमित कामकारबाहीमा सघाउने उद्देश्यले काम गर्दै आएको उनले बताइन् ।
‘सरकारबाट भए गरेका कामकारबाहीको अनुगमन र मूल्यांकन गर्ने, आवश्यक निर्देशन दिने र कमीकमजोरीबारे सचेत गराउने काम मेरो नेतृत्वको समितिले गरेको छ,’ उनले भनिन्, ‘औपचारिकता पूरा गर्ने काम ठूलो संसद्ले गर्छ तर मसिनो गरी छलफल गरेर टुंगोमा पुर्‍याउने काम समितिबाट हुन्छ । मेरो समिति काममा चुकेको छैन ।’ निकै चासो र चर्चामा रहेको नागरिकता विधेयकमाथि गहन छलफल भइरहेको उनले बताइन् । देशले संघीय संरचनाको अभ्यास गरिरहे पनि कानुन तथा नीति केन्द्रीकृत हुँदा कार्यसम्पादनमा भइरहेको ढिलासुस्ती हटाउन मैत्रीपूर्ण विधेयक बनाउने काम भइरहेको उनको भनाइ छ । श्रेष्ठ काठमाडौंबाट नेकपाकी समानुपातिक सांसद हुन् । उनलाई नेकपाभित्र अध्ययनशील एवं क्षमतावान् नेत्रीका रूपमा चिनिन्छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले आफूहरूले जनगुनासालाई पहिलो प्राथमिकतामा राखेको बताइन् । समितिले कृषि आधुनिकीकरण, वन संरक्षणलगायत सवालमा सरोकारवालासँग छलफल गरेर गुनासाको सुनुवाइ र सम्बोधन गर्दै आएको छ । ‘समितिको कार्यक्षेत्रअन्तर्गत ऊर्जा, सिँचाइ, वन, वातावरण, कृषि, सहकारी, भूमिलगायत विषय पर्छन्, यीसँग सम्बन्धित मन्त्रालयको कामकारबाही, अनुगमन र निर्देशन गर्दै आएकी छु,’ उनले भनिन्, ‘महिला भएकैले झारा टार्ने काम भए भन्ने बुझाइ होला तर पुरुषको तुलनामा इमानदारीपूर्वक काम गरेकी छु ।’ उनी बाँकेबाट नेकपाकी समानुपातिक सांसद हुन् ।
महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले ‘समितिको क्षेत्राधिकार’भित्र रहेर काम गरिरहेको जानकारी दिइन् । उनको समितिले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सवालमा सरकारले गर्ने कामकारबाहीको अनुगमन र निर्देशन गर्छ । यी सवाल संवेदनशील भए पनि राज्यको कम प्राथमिकतामा छन् । ‘भौतिक विकासलाई मात्रै प्रगति मान्ने, सामाजिक विकासलाई विकास नै नमान्ने जुन परिपाटी छ, त्यसलाई चिर्ने गरी समितिले अभ्यास गरिरहेको छ,’ सभापति पालले भनिन्, ‘महिलाकै सवालमा सभापति महिला नै हुँदा धेरै विषयलाई मैत्रीपूर्ण र सरकारको एजेन्डा बनाउने पक्षमा काम गरिरहेको छु ।’
विकास तथा प्रविधि समितिले विकास निर्माणका सवाललाई प्राथमिकतामा राखेको सभापति कल्याणीकुमारी खड्का बताउँछिन् । ‘राष्ट्रिय गौरवका आयोजनामा हामीले बढी जोड दिएका छौं, विकासमा भइरहेका अनियमिमतालाई पनि समितिले विशेष निगरानीमा राखेको छ,’ उनले भनिन् । संसद्का हरेक समिति उत्तिकै महत्त्वपूर्ण हुँदाहुँदै पनि आफ्नो समितिको कार्यक्षेत्रमा जनचासो बढी हुने भएकाले जिम्मेवार कार्यकुशलतामा आफू र समितिका सदस्य लागिपरेको उनको दाबी छ ।
संविधानमै संसदीय समितिमा सभापति महिला हुनुपर्ने बाध्यकारी नीतिलाई मुलुकको संसदीय अभ्यासमै उदाहरणीय उपलब्धि मानिएको छ । यसले देश विकासमा सकारात्मक सन्देश दिएको राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालको भनाइ छ । ‘महिलाले अवसर पाएपछि गर्न सक्छन् भन्ने संसदीय अभ्यासबाट प्रस्ट भएको छ, समितिहरूमा सभापति महिलाहरूको काम कुनै सभापति पुरुषको भन्दा कम छ भन्ने मलाई लाग्दैन, फरक पृष्ठभूमिमा निकै संघर्ष गरेर नीति बनाउने र कार्यान्वयन गर्ने ठाउँमा आइपुगेका उहाँहरूको योगदान सम्मानयोग्य छ,’ उनले भनिन् ।

Page 4
वाग्मती प्रदेश

'तिहारलाई मात्र होइन सयपत्री'

विद्यार्थीको फूल व्यवसाय
दसैं लागेसँगै उनीहरू सयपत्री बेच्न थाल्छन् । तिहारमा त झन् धेरै बिक्री हुने भयो । तिहारपछि पनि थप तीन कठ्ठामा फूल लगाउने उनीहरूको योजना छ ।
- रमेशकुमार पौडेल
बिक्रीका लागि सयपत्री टिप्दै सागर र सुवास । तिहारमा माग बढी भए पनि अरूबेला समेत उनीहरू फूल बिक्री गर्दै आएका छन् । तस्बिर ः रमेशकुमार/कान्तिपुर

(चितवन) - सिभिल इन्जिनियर सागर कार्की एमबीएका विद्यार्थी पनि हुन् । सातजना विद्यार्थी साथीहरूसँग मिलेर उनले भरतपुर र रत्ननगरमा लगभग सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गरेका छन् । तिहार नजिकिँदै गर्दा शुक्रबार बिहान उनी भरतपुरमा साथी सुवास सापकोटासँगै बारीमा फूल टिपिरहेका थिए । सयपत्री लगाएपछि तिहारमा व्यस्तता बढ्छ नै । तर उनीहरूको व्यस्तता तिहारका बेलामा मात्रै सीमित हुँदैन ।
‘दसैं आसपासबाटै हामी सयपत्री बेच्न सुरु गर्छौं । तिहारका बेलामा त झन् बिक्री हुने नै भयो,’ सागरले सुनाए, ‘तिहारपछि पनि बेच्न भनेर थप तीन कठ्ठामा फूल लगाउँदै छौं ।’ चितवनमा पछिल्लो समय सयपत्री फूलखेती फस्टाउँदै गएको छ । प्रायले तिहारका बेलामा फूल बेच्नकै लागि खेती गर्छन् । तर तिहारका साथै अरू बेलामा पनि सयपत्री बेच्न सकिने सागर र सुवासको अनुभव छ ।
युवाहरूको संस्था ‘बेटर चितवन’ मा आवद्ध छन् उनीहरू । कार्यक्रममा स्वागत र सम्मानका लागि खादा प्रयोग गर्ने चलन बढेको देखेर चार वर्षअघि फूलखेतीमा लागेको सागरले बताए । ‘कार्यक्रममा प्रयोग हुने खादा एकपटकका लागि मात्रै हो । तर यो स्थानीय उत्पादन होइन । फूल पनि एकपटक मात्रै प्रयोग गर्न मिल्छ । तर स्थानीय रूपमा उत्पादन गरे आयआर्जनमा टेवा पुग्छ,’ उनले ।
चार वर्षयता फूलखेती र प्रयोग निकै बढेको सागर बताउँछन् । ‘भरतपुर नारायणगढ क्षेत्रमा फूल बेच्ने तीनवटा पसल थिए । अहिले १३ वटा पुगेका छन् । त्यसैले फूलको प्रयोग व्यापक हुँदै गएको यसले देखाउँछ,’ उनले भने । अझै पनि भारतबाट फूल ल्याएर बेच्ने चलन छ । तिहारका बेलामा भारतबाट आउने फूलको भर पर्नुपर्ने हुन्छ ।
केही वर्षयता भने चितवनमा सयपत्री लगाउने क्रम बढेको छ । सरकारी निकाय कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल चितवनमा १५ बिघा जमिनमा व्यावसायिक फूल खेती हुने गरेको बताउँछन् । तिहारलाई लक्षित गरेर सयपत्री र मखमली फूल रोप्ने चलन बढ्दै गएको उनको भनाइ छ । ‘पहिला धेरै नै फूल बाहिरबाट आउँथ्यो । अहिले जिल्लामा नै व्यावसायिक फूलखेती बढ्दो छ,’ ढकालले भने । नेपाल फ्लोरीकल्चर एसोसिएसन चितवन शाखाका अध्यक्ष प्रकाश पन्त पनि यसमा सहमत छन् ।
‘दुई कट्ठादेखि दुई बिघासम्म फूलखेती गर्ने व्यावसायिक किसानहरू छन् । चितवनमा १५ जनाजतिले राम्रैसँग सयपत्री खेती गर्नुभएको छ । सहकारी समूहले खेतीमा हात हालेका छन्,’ अध्यक्ष पन्तले भने । तिहारका साथै अरू बेलामा पनि सयपत्री फूलको माग रहने उनले बताए । तिहारमा चितवनमा ६० हजार माला आवश्यक पर्ने उनको आँकलन छ । ‘तिहार नभए पनि अरू बेलामा चितवनमा दिनका दैनिक चार सय माला खपत हुने अवस्था छ,’ पन्तले भने ।
लगाएको तीन महिनापछि सयपत्री फुल्न थाल्छ । वर्षायाममा अलि उच्च भागमा खेती गरे फूलको उत्पादन राम्रो लिन सकिने सागर कार्की बताउँछन् । त्यसैले चितवनमा बाह्रै महिना सयपत्री फुलाउन सकिने उनले बताए । ‘एक कट्ठामा खेती गर्दा २० हजार रुपैयाँ जति खर्च हुन्छ । आम्दानी एक लाख, सवा लाख रुपैयाँसम्म हुने रहेछ,’ कार्कीले सुनाए ।
तिहार सकिए पनि बिहे, व्रतबन्ध, पूजा र अन्य औपचारिक कार्यक्रममा सयपत्रीको माला र फूलको खपत हुने गरेको छ ।

वाग्मती प्रदेश

एक्लोपन बिर्साउन रोटीको व्यापार

- प्रमिता ढकाल

(भरतपुर) - भरतपुरकी आशा श्रेष्ठ अधिकारीले ठूलो बाटामा ४५ किलो मैदा मुछिन् । मुछेको पिठोलाई छोपिन् र अर्को भाँडोमा अर्सा बनाउनका लागि ठिक्क पारेको मिश्रण हेरिन् । भेलीमा चामलको पिठो हुँडलेर ठिक्क पारेको मिश्रणबाट उनले अर्सा पकाउन सुरु गरिन् ।
तिहार नजिकिँदै गर्दा अधिकारीको दैनिकी यस्तै व्यस्ततामा बितिरहेको छ । बिहान सबेरैदेखि उनी तिहारका परिकार बनाउनमै कस्सिन्छिन् । राति अबेर निद्रा नलागुन्जेल पनि काममै खटिन्छिन् । एकल महिला र घरमा सहयोगका लागि अन्य सदस्य कोही नहुँदा पनि समय व्यवस्थापन भने उनी निकै चनाखो छिन् ।
उज्यालोको पर्वसमेत भनिने तिहार मिठामिठा परिकारका लागि पनि प्रिय छ । तिहारलाई स्वादिलो बनाउन यतिबेला अधिकारीलाई भ्याइनभ्याई छ । ‘घरमा सघाउने अरू कोही छैन,’ उनले भनिन्, ‘बिहानदेखि बेलुकासम्म केके पकाउने, त्यहीअनुसार मात्रै तयारी गर्छु ।’
लक्ष्मीपूजाअघि उनलाई पाँचपाँच सय वटा अर्सा र अनरसाको अर्डर पूरा गर्नुछ । एउटै ग्राहकले दिएको यो अर्डर पूरा गरेपछि तिहारका लागि आएका अन्य अर्डर बाँकी नै रहेको उनले बताइन् । अर्सा, अनरसा, फिनी र सेल प्रतिगोटा ३० रुपैयाँमा बिक्री हुन्छ । निम्किन दुईदेखि चार सय रुपैयाँ प्याकेट र खुर्मा चार सय प्रतिकेजी बिक्री हुने गरेको अधिकारीले सुनाइन् ।
‘रोटीका परिकारका लागि चितवनमात्र नभई काठमाडौं र पोखराबाट पनि अर्डर आउने छ,’ उनले भनिन् । तिहारका लागि रोटी अर्डर गर्न उनको घरमै पुगेकी भरतपुर– २ की सुस्मिता लुइँटेलले ३०/३० वटा अर्सा, अनरसा र फिनी अर्डर गरिन् । ‘तिहारमा यी सबै रोटी नभए खल्लो लाग्छ,’ लुइँटेलले भनिन्, ‘घरमा बसेर सबै परिकार बनाउन फुर्सद नै पाइन्न ।’ उनी स्टाफ नर्स हुन् । लक्ष्मीपूजाको दिन पनि ड्युटी हुन सक्ने भएकाले घरमा सबै तयार पार्न गाह्रो पर्ने उनले बताइन् । उनीजस्तै अधिकांश जागिरे महिलाले तिहारका लागि अर्डर दिने गरेको अधिकारीको अनुभव छ । ‘पहिलाजस्तो घरमा आमा, दिदीबहिनी सबै जम्मा भएर तिहारका रोटी बनाउने फुर्सद आजकल कसलाई हुन्छ र,’ उनी हाँस्दै भन्छिन्, ‘उनीहरूको बेफुर्सदिलो जागिरका कारण मैले पनि त जागिर पाएँ ।’
५५ वर्षर्यीा अधिकारीले रोटीका परिकारको व्यवसाय सुरु गरेको आठ वर्ष पूरा भयो । घरायसी सामान किनेमलका लागि नारायणगढको सपिङ मार्टमा पुगेकी उनले मार्टमा बिक्रीका लागि प्याकेजिङ गरी राखिएको खुर्मा देखिन् । घरमा खाजाको लागि प्रयोग गर्दै आएको खुर्मा बिक्रीका लागि राखिएको देख्दा उनलाई अनौठो लाग्यो । मार्टका सञ्चालकसँग सोधखोज गरिन् । सञ्चालकले उनलाई पोखरादेखि ल्याइने प्याकेट खुर्माको विकल्प चितवनमै पाए सहज हुने प्रतिक्रिया दिए । त्यसपछि पाँच किलो मैदा र सुजी किनेर खुर्मा बनाएकी आशाको व्यावसायिक यात्रा त्यहीँबाट सुरु भएको हो ।
१७ वर्षयता एकल जीवन बिताइरहेकी आशाको यो यात्रा सहज थिएन । सपिङ मार्टमा निरन्तर खुर्मा पुर्‍याउन सके जीविकोपार्जन सहज हुने देखेपछि समूहबाट १० हजार ऋण लिएरै यो व्यवसाय सुरु गरेको उनी बताउँछिन् । एक्लोपन बिर्साउनकै लागि पनि व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

वाग्मती प्रदेश

उपनिर्वाचनमा उम्मेदवारको आकांक्षी धेरै

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– भक्तपुर क्षेत्र नम्बर १ प्रदेशसभा १ (क) मा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दर्जनौं आकांक्षी देखिएका छन् । उक्त क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका हरिशरण लामिछानेको निधन भएपछि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचन आउन एक महिनामात्र बाँकी हुँदा कुनै दलले एकल उम्मेदवार छनोट गर्न सकेका छैनन् ।
कांग्रेस भक्तपुरले उम्मेदवारका आकांक्षीमध्ये १० जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला समिति बैठकले उम्मेदवारीका लागि निवेदन परेका १० जनाको नाम सिफारिस गरेको सभापति दुर्लभ थापाले बताए । विनोदप्रसाद कायस्थ, कृष्णलाल भँडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठ, रूपा थापा, उद्धव खड्का, किरण न्यौपाने, मनोजकुमार थापा, हरिप्रसाद नेपाल र सुभद्रा काफ्लेको नाम पार्टी केन्द्रमा सिफारिस गरेको जिल्ला सभापति थापाले बताए ।
नेकपाले भने उम्मेदवार छनोट गर्न सकेको छैन । जिल्ला अध्यक्ष बचन देउजाले भने, ‘शनिबारको बैठकले उम्मेदवार आकांक्षीको सिफारिस गर्छ ।’ जिल्लाका चार स्थानीय तहमध्ये तीनमा विजयी भएको नेकपामा उम्मेदवार हुन चाहनेहरू धेरै छन् । जसमध्ये, मोहनवीर श्रेष्ठ, देवीप्रसाद ढकाल (डीपी), रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकी, दामोदर दंगालको नाम चर्चामा छ ।
मजदुर किसान पार्टीले पनि उक्त क्षेत्रमा उम्मेदवार छनोट गरेको छैन । आन्तरिक रूपमा उपनिर्वाचनको तयारी थाले पनि उम्मेदवार छनोटका लागि केही दिन कुर्नुपर्ने जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजुले बताए । उपनिर्वाचनका लागि राप्रपालगायतका अन्य दलको पनि हालसम्म आधिकारिक रूपमा उम्मेदवारको नामावली सार्वजनिक गर्न सकेका छैनन् ।
उक्त प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । भक्तपुर क्षेत्र नम्बर १ प्रदेश १ (क) मा साबिककै २२ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम बिसीले बताए ।

वाग्मती प्रदेश

अंग्रेजलाई जितेको सम्झनामा विजयोत्सव

- कान्तिपुर संवाददाता

सिन्धुलीमाढी (कास)– नेपाल कब्जा गर्न आएका अंग्रेजहरूलाई सिन्धुलीगढीबाट गोर्खाली सेनाले पराजित गरेको सम्झनामा सिन्धुलीगढीमा विजयोत्सव मनाइने भएको छ । घरेलु हतियारको भरमा लडेर गोर्खाली सेनाले नेपाललाई बचाएकाले ऐतिहासिकस्थल सिन्धुलीगढीको ठूलो महत्त्व छ ।
कात्तिक २२, २३ र २४ गते विजयोत्सव मनाउने जानकारी गराउँदै कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले नगर कार्यपालिका बैठकले २४ गते सार्वजनिक बिदाको घोषणा गरिएको बताए । यसअघि बिदा दिने गरिएको थिएन ।
सो अवसरमा युद्ध संग्रहालय र पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि शिलान्याससमेत गरिने भएको छ ।
नेपाल एकीकरणका बेला विसं १८२४ मा साम्राज्य कायम गर्दै हिँडेका अंग्रेजलाई गोर्खाली सेनाले सिन्धुलीगढीमा हराएका थिए ।
नेपाल पत्रकार महासंघले २०६८ सालदेखि प्रत्येक वर्ष कात्तिक २४ गते विजयोत्सव मनाउँदै आएको थियो । स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएपछि नगरपालिकाको नेतृत्वमा विजयोत्सव मनाइँदै आएको छ । सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमध्ये सिन्धुलीगढी पनि एक हो । मुख्य दरबार (ठूलो गढी) लाई जस्ताको त्यस्तै बनाउन प्रदेश ३ सरकारले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख खत्रीले बताए ।

वाग्मती प्रदेश

राति १० बजेपछि देउसीभैलोमा रोक

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरूले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसीभैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् । स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्‍याएको अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातको समयमा देउसीभैलोलगायतका सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए ।
प्रजिअ दाहालले भने, ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसीभैलो तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले चाडपर्व मर्यादित र व्यवस्थित रूपमा मनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको बताए ।

वाग्मती प्रदेश

गुलाब र वाग्मतीका मिठाई दूषित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौं महानगरको कृषि तथा पशु सेवा विभागले शुक्रबार सुन्धारास्थित गुलाब मिठाई पसल र त्रिपुरेश्वरस्थित वाग्मती स्विट्समा अनुगमन गर्दा दूषित खानेकुरा फेला पारेको छ ।
‘दुगड कम्पनीबाट उत्पादन भएका एक किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्याकेटसमेत बरामद भएको छ,’ विभागका प्रमुख हरिबहादुर भण्डारीले भने, ‘भण्डारको छेउ अँध्यारो कुनामा २६ किलोग्राम बेसन किरा परेको अवस्थामा भेटिएको थियो । अनुगमन टोलीले अखाद्य बेसनलाई फोहोरमा मिसाएर नष्ट गरेको छ ।’
घुन लागेको, चिलेसा परेको पिठोबाट मिठाई बनाइरहेको पाइएको खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताए । सालिमार हस्पिटालिटी एन्ड फुड प्रोडक्ट प्रालिका व्यवस्थापक भरत रावलले भने बिग्रिएका सामान आफूले प्रयोग नगरेको दाबी गरेका छन् ।
गुलाब मिठाई यसै प्रालिको एउटा उत्पादन हो ।
‘गुलाबले बिक्रीका लागि तयार पारेका अन्य मिठाईमा उत्पादन भएको तथा म्याद सकिएको मिति र मूल्यसमेत राखेको ट्याग थिएन । यी विवरणसहितको ट्याग राखेर मात्र बिक्री गर्न र उत्पादन गर्दा सरसफाइमा ध्यान दिन आग्रह
गरेका छौं,’ अनुसन्धान अधिकृत सुवेदीले भने । त्रिपुरेश्वरस्थित वाग्मती स्विट्सको मिठाई, आलु चिप्स, दालमोठ, निम्कीलगायतमा उत्पादन मिति, मूल्य अंकित लेबल नभएको, पत्रिकाले मिठाई छोपेको र भुसुना भन्किरहेको पाइएको उनले बताए । बिक्रीका लागि राखिएका तारेको आलुको प्याकेट र भुजियामा उत्पादित मिति नपाएपछि टोलीले १८ प्याकेट आलु बरामद गरेको छ ।
‘कोठाको कुनामा राखिएको चमचममा साङ्ला भेटिएपछि टोलीले १० किलोग्राम मिठाई नष्ट गरेको छ,’ सुवेदीले भने, ‘हामीले जे देख्यौं त्यसको आधारमा मुद्दा चलाउन मुचुल्का तयार गरेका छौं ।’
प्रमाणका आधारमा सञ्चालकलाई कारबाही हुने महानगरको कृषि तथा पशुसेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए ।

Page 5
उपत्यका

सार्वजनिक यातायातमा जे देखियो

माइक्रोबसमा रत्नपार्क–बानियाँटार
कोचाकोच यात्रु चढेपछि भित्र सास फेर्नै गाह्रो हुनेगरी उकुसमुकुस थियो । उभिने केही त खलखली पसिना निकालिरहेका देखिन्थे ।
- सीमा तामाङ
रत्नपार्कदेखि बानियाँटार चल्ने माइक्रोबस चढ्न लामबद्ध यात्रुहरू । उक्त रुटमा कान्तिपुर टिमले रिपोर्टिङ गर्दा १२ सिटको माइक्रोमा ३२ जनासम्म चढेको पाइयो । तस्बिर ः कविन अधिकारी/कान्तिपुर

(काठमाडौं) - घन्टाघर । साँझ ५ बजे ।
चिसो सिरेटो चलिरहेको छ । हुलका हुल मानिस यताउता कुदिरहेका छन् । गाडीको ट्याँट्याँटुँटुँले उपत्यका नाम मात्रैको ‘हर्न निषेधित क्षेत्र’ भएको भान हुन्छ ।
दिनभरको काम सकेर घर फर्कनेहरूको लर्कोले बाटो हिँड्नै सकस छ । रत्नपार्क हुँदै घर फर्कन सडकछेउ र पेटीमा उभिने पनि उत्तिकै छन् । माइक्रो र बसका सहचालकहरू यात्रु चढाउन आफ्नो स्वरले भ्याएसम्म चिच्याइरहेका छन् । महानगरीय प्रहरी कार्यालय छेउ र भोटाहिटीबाट पुल पार गरेर ठेलमठेल गरेर रत्नपार्क आउनेको भीड पनि बढेको देखिन्छ । सर्वसाधारणको भीड जति बढ्दै जान्छ, केहीचाहिँ प्रहरी कार्यालयको मूलगेट छेउ सडकको लाइनमा थपिन्छन् । लाइनमा दिनभरिको काम सकेर फर्कने युवादेखि वृद्धवृद्धासम्म छन् । ढिला आउनेजति लाइनको पछाडि थपिँदै छन् । लाइन बढेर भोटाहिटी नजिकको पुलतर्फ पुग्नै लागेको छ ।
कतिपय पैदल यात्रुहरू लामो लाइन देखेर जिज्ञासु नजर तेर्स्यारहेका थिए । कोही पहिले नै आएर आफ्नो साथीको लागि लाइन बसिरहेका थिए ।
यो लाइन टोखा नगरपालिकाको बानियाँटार जाने यात्रुहरूको हो । जमल, त्रिचन्द्र कलेज अगाडिको सडकबाट सामाखुसी बानियाँटार लेखेको माइक्रोबस आउनेबित्तिकै उनीहरू तँछाडमछाड गर्दैनन् । लाइनमा जसको पालो आयो सरक्क चढ्छन् ।
१२ सिटको माइक्रोमा २० जनाभन्दा बढी एकैपटक छिरेको देखियो । अगाडि लाइनमा हुनेको रोजाइ चालकसँगैको सिट हुन्थ्यो । एकैपटक दुई वटा माइक्रोबस आउँदा लाइन स्वाट्टै घट्थ्यो । माइक्रो आउन ढिलाइ हुनासाथ लाइन तन्किइहाल्थ्यो ।
मंगलबार अपराह्न सवा ५ बजे बानियाँटार जाने यात्रुको लाइनमा हामी पनि थपियौं । हाम्राअगाडि ८५ जना थिए । लाइनमा बस्ने कोही हातमा झोला समाएका देखिन्थे, कोही काखे बच्चा बोकेका । कसैका हातमा किनमेल गरेको सामानका पोकापन्तुरा ।
अगाडिको लाइन सरेकै थिएन । सरोस् पनि कसरी ? माइक्रो नै आएको थिएन । लाइन मिच्दै बीचमा छिर्ने आँट कसैले गरेनन् । दोहोरो लाइन बस्न पनि कोही तम्सिएनन् । लाइन बसेको ५ मिनेट (५ बजेर २० मिनेट) मा हामीभन्दा पछाडि ६३ जना पुगिसकेछन् ।
५ बजेर २२ मिनेटमा बा १ ज ८४६१ नम्बरको माइक्रो आइपुग्यो । त्यसमा मुस्किलले २० जनाजति चढे । हामीभन्दा पछि हुनेको संख्या ८८ पुगिसकेछ । लाइन छेउमै बा १ ज ८९१३ नम्बरको माइक्रो पार्किङ गरिराखेको देखियो । लाइन लामो देखेर होला यात्रु चढाउन अघि बढ्यो । तर, गोंगबुसम्म मात्रै जाने भए पनि हामीभन्दा अघि र पछि लाइनमा बसेकाहरू फटाफट चढे । यसमा चढ्न भने निकै दौडधुप भयो । एउटा माइक्रो आउँदा अलि यताउता गर्दै सलबलाउँथे । जब माइक्रो अटाइनअटाई यात्रु लिएर आफ्नो गन्तव्यतर्फ छुट्थ्यो, फेरि लाइनले आकार लिइहाल्थ्यो ।
५ बजेर २५ मिनेटमा बा १ ज ८१८० नम्बरको माइक्रो आइपुग्यो । हामी अघि त बढ्यौं, तर अटेनौं । ढोकामा पुगेपछि माइक्रोका सहचालकले ढोका बन्द गरिदिए । हामीभन्दा अघिको लाइनमा दुई जना थिए, केहीबेरमा एक वृद्ध र वृद्धा पनि लाइन नबसी अघि आए । एक युवा छेउमा आएर भन्न थाले, ‘अब त यसरी लाइन बस्नुपर्ने दिन पनि धेरै छैन । अस्ति चीनको राष्ट्रपति आएर पैसा दिइसक्यो । अब बाटो फराकिलो भएपछि यसरी लाइन बस्नुपर्दैन । टक्क आउनेबित्तिकै गाडी पाइन्छ ।’
काठमाडौंमा गाडी अभाव हुने सबै ठाउँमा चीनले रकम दिएर यात्रा सहज बनाउन लागेको गफ सुन्नेचाहिँ हामीसहित अरू चार जना थिए ।
सहकर्मी फोटोपत्रकार कविन अधिकारी गाडीमा चढ्दा हुने भीडभाड र लाइनको फोटो खिचिरहेका थिए । यात्रुहरू भन्दै थिए, ‘आज फोटो पत्रकार पनि हामीले गाडी चढ्दाको पीडा खिच्न आएछन् । जति खिचे पनि हुने केही होइन ।’
गाडी चढ्न लाइन बस्दा लाग्थ्यो, हामी कुनै मेला वा मन्दिरमा छिर्न लागिरहेका छौं । हामीभन्दा अघि सूर्यदर्शन हाइटसम्म पुग्ने युवती भेटिइन् । लाइन बसेको १५ मिनेटसम्म पनि माइक्रोबस नआएपछि हामीले उनलाई सोध्यौं, ‘कति समयसम्म कुर्नुपर्छ ?’
‘यसअघि त दुई घन्टासम्म कुरेका थियौं ।’
लाइन बसेको २० मिनेमा बा १ ज ८३५० नम्बरको माइक्रो आइपुग्यो । यसमा चाहिँ हाम्रो पालो आउने पक्का थियो, किनभने हामी अगाडि नै थियौं । हामी चढ्ने बेला पछाडि लाइनमा बस्ने १ सय ३४ जना थिए ।
अघिल्लो लहरको सिटमा दुई जना वृद्धवृद्धा बसेपछि हामी दोस्रो लहरको सिटमा बस्यौं । हरियो ज्याकेट लगाएका सहचालक भन्दै थिए, ‘तीन/तीन जना बसौं है ।’ हामी बसेको सिटमा अर्का एक पुरुष पनि थपिए । अन्तिम सिटमा चार जना थिए । ढोकादेखि अन्तिम सिटसँग जोडिएको लामो सिटमा चार जना, चालक पछाडिको पछिल्तिर फर्केको सिटमा चार जना बसे । अगाडि चालकसँगैको सिटमा भने दुई जनामात्रै थिए । उभिनेको संख्या नौ थियो ।
१२ सिट क्षमताको माइक्रोमा २३ जना बसेका थिए । उभिनेसहित ३२ जना यात्रु लिएर ५ बजेर ३७ मिनेटमा माइक्रोबस बानियाँटारतर्फ अघि बढ्यो ।
काठमाडौंका माइक्रोबसमा हुने कष्टपूर्ण यात्रा हाम्रो रिपोर्टिङको विषय थियो । यसका लागि सुरुमा छान्यौं, रत्नपार्क–बानियाँटार रुट ।
जब माइक्रो गुड्न थाल्यो, यात्रुहरू आफ्ना पीडा सुनाउन थाले । कोही च्यापियो भन्दै थिए त कोही खुट्टा कुल्चिएकोमा गुनासो गर्दै थिए । हामी बसेको सिटको छेउमा उभिनेमा महिलाहरू पनि थिए । उनीहरूलाई सिट छाड्न हामी उठ्ने अवस्थै थिएन । हाम्रो छेउमा बस्ने पुरुषको आडमा एउटी महिला बसेकी थिइन् । उभिएकी दुई महिलाको बच्चा हामीले राख्नेबाहेक सिट छाड्नै सकेनौं । हामी चढेको माइक्रोमा चाहिँ लाइन मिचेर चढ्ने पनि रहेछन् । यतिका यात्रु चढेपछि भित्र सास फेर्नै गाह्रो हुनेगरी उकुसमुकुस थियो । उभिने केही त खलखली पसिना निकालिरहेका थिए । एकले अर्कोलाई सम्झाउँदै भनिरहेका थिए, ‘यस्तै हो बानियाँटारको गाडीमा । सधैं ठेलमठेल ।’
उभिनेहरू बस्नेलाई सोधिरहेका थिए, ‘कहाँ आइपुग्यो ?’ कोही त भन्दै थिए, ‘बानियाँटार आइपुग्या हो ?’ किनकि उभिएका यात्रुले बाहिर देख्न सक्ने अवस्था थिएन । तर, साँझ झमक्कै परिसक्दा माइक्रो ठमेल नजिकमात्रै
पुगेको थियो ।
गल्कोपाखामा सिटमा बसेका दुई जना झरे । सहचालकले थप तीन जना चढाए । उभिनेहरू चालकलाई भन्दै थिए, ‘अब त अति भयो, यतिका मान्छे भएर पनि नपुग्ने ?’
कपुरधारामा हाम्रो काखमा बसेकी बच्चाकी आमा झर्ने भइन् । उनी झरेपछि थप दुई जना चढे । यसरी गोंगबु चोकसम्म माइक्रोबाट झर्ने र चढाउने क्रम चलिरहृयो । यात्रु कोचाकोच भएपछि सहचालक भन्थे, ‘अलि भित्रभित्र सर्नुस् है ।’ गोंगबु चोकमा पाँच जना झरे, उत्ति नै चढे ।
रत्नपार्कबाट उभिएरै बानियाँटार पुलसम्म पुगेकी एक महिला भने कष्टले भगवान् पुकारिरहेकी थिइन्, ‘हे भगवान्, यस्तो सास्ती गरेर कहिलेसम्म माइक्रो चढ्ने होला ? उभिँदाउभिँदा ढाड र गर्दन दुखेर मर्नै लागिसक्यो ।’
पुलसम्म पुग्दा पनि यात्रुको संख्या २२ थियो । धनेश्वर चोकमा साँझ ६ बजेर २५ मिनेटमा पुग्दा बल्ल उभिने यात्रुले सिट पाए । माइक्रो अर्को स्टपतर्फ लाग्यो । हामी यही ओर्लेर फर्कने गाडीको पर्खाइमा लाग्यौं ।
साढे ६ बजेपछि बानियाँटारबाट रत्नपार्कसम्म गाडी नै नचल्ने रहेछ । हामी ओर्लेको दुई मिनेटमै बा १ ज ८२८१ नम्बरको माइक्रो आयो । तर, गोंगबु चोकसम्म मात्रै आउने थियो । गाडी खाली हुँदा चालकले बारम्बार दुखेसो पोख्दै भन्थे, ‘यसरी खाली गुडाएर घाटा पर्ने भयो ।’
पैदलयात्रुको भीडमा चर्को हर्न बजाउँदै अघि बढिरहृयो । भित्री बाटोको जाम छल्दै गाडी गोंगबु चोकमा त आइपुग्यौं तर त्यहाँबाट रत्नपार्क आउने गाडी पाउनै मुस्किल । गाडीको पर्खाइमा बस्ने उत्तिकै थिए । पहिलो गाडीमा हामी चढ्नै सकेनौं । दोस्रोमा बल्लतल्ल चढेर जमल आइपुग्दा ७ बजिसकेको थियो । हामी चढेको बा १ ज ८१२१ नम्बरको माइक्रोबसका चालकले बानियाँटारमा ३५ वटा माइक्रो भए पनि यात्रुले लाइन लागेर चढ्नुपरेको सुनाए ।
ती चालकका अनुसार बानियाँटार, टोखा, गोंगबुलगायतको रुटमा ९७ वटा माइक्रोबस चल्छन् । यी रुटमा चल्ने माइक्रोले दैनिक माइक्रोको समितिलाई ६ सय २० रुपैयाँ बुझाउनुपर्छ । यो समितिले न त आफूले राम्रो सेवा दिन सकेको छ न त अरुलाई प्रवेश दिन्छ । यो रुटमा नयाँ व्यवसायी प्रवेश गर्नुपर्‍यो भने रुटको मात्रै न्यूनतम पाँच लाख रुपैयाँ तिनुपर्छ ।
ती चालकको यी कुरा सुनेपछि हामी जमलबाट हिँड्दै रत्नपार्क (जहाँ हामी लाइन लागेका थियौं) आइपुग्यौं । हामी चढ्दाको जस्तो लाइन बस्ने कोही थिएनन् । बानियाँटार जाने तीन जना महिला उभिइरहेका थिए । दुई घन्टाअघिको जस्तो माइक्रो कुर्नेहरू थिएनन् । सडकबत्ती र गाडीको बत्तीले उज्यालो देखिन्थ्यो । पारिपट्टि फुटपाथमा कराएर सामान बिक्री गर्नेको आवाज भने चर्कै सुनिन्थ्यो ।
केहीबेरमा बा १ ज ८३५६ नम्बरको माइक्रो आइपुग्यो । त्यो पनि गोंगबुसम्म मात्रै जाने रहेछ । माइक्रोका सहचालकले भने, ‘गोंगबुसम्म जाने भए आउनुस् । त्यहाँबाट त तेल लगाएर घर जाने हो ।’
बेखबर विभाग
बानियाँटार जान सर्वसाधारण लाइनमा बसेर माइक्रोबस चढ्न बाध्य छन् । तर यसबारे यातायात व्यवस्था विभागलाई कुनै जानकारी छैन । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘हामीलाई कुनै जानकारी छैन, तपाईंले भनेपछि थाहा पायौं । यसबारेमा हामी बुझ्नेछौं ।’
विभागका महानिर्देशकले जानकारी नभएको बताए पनि ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले लाइन सिस्टम दुई वर्षदेखि सञ्चलनमा रहेको जानकारी दिए । ‘तपाईं पहिलोचोटि पर्नुभएछ, यस्तो चलेको दुई वर्ष भइसक्यो ।’
बिहान र दिउँसो गाडी चढ्न लाइन बस्नु नपरे पनि साझँमा लाइन नबसी गाडी धरै छैन । गाडी चढ्नेको भीड, ठेलमठेल, पहिला आए पनि अशक्त र वृद्धवृद्धाले गाडी चढ्न नसक्ने भएपछि लाइन सिस्टम लागू गरिएको प्रवक्ता पौडेलले बताए । ‘अन्य स्थानमा पनि लाइन सिस्टम राख्न खोजिएको हो । तर साँघुरो ठाउँ हुने भएकाले कार्यान्वयन हुन सकिरहेको छैन,’ उनले भने । रत्नपार्कमा लाइन सिस्टम सुरु भएपछि अहिलेसम्म सर्वसाधारणले गुनासो नगरेको उनको भनाइ छ ।
साँझमा गाडीको समस्या हुने र निर्धारित गन्तव्यसम्म नजाने गरेको यात्रुको गुनासो सुनाउँदा प्रवक्ता पौडेलले भने, ‘यातायात व्यवसायीले कति बजेसम्म गाडी चलाउनका लागि रुट परमिट लिएका छन्, सोहीअनुसार चालकले गाडी चलाउँछन् ।’
देश संघीय व्यवस्थामा प्रवेश गरिसके पनि यातायात व्यवस्था विभाग तथा यातायात व्यवस्था कार्यालयको जिम्मेवारी नछुट्याउँदा त्यसको असर यात्रुहरूसम्म पुगेको छ । सवारीसाधनसँग सम्बन्धित काम गर्ने यातायात व्यवस्था विभाग यात्रुहरूको समस्यामा अनभिज्ञ छ । विभागले अहिले लाइसेन्स छापिदिनेबाहेक अन्य केही काम नगर्ने विभागका सूचना अधिकृत तीर्थराज खनालले बताए ।
‘विभागले देशभरकै सवारीसाधन व्यवस्थापन गर्न नयाँ यातायात व्यवस्था ऐन तर्जुमा गर्दर् ैछ,’ उनले भने, ‘यसबाहेक पुराना ऐनअनुसार सर्वसाधारणको प्रश्नको जवाफ दिने काम मात्र छ ।’
विभागको केही काम नभएकाले खारेज गर्दा नै राम्रो हुने उनले बताए । नेपाल सरकारको सार्वजनिक सवारीसाधन नभएकाले निजी क्षेत्रबाटै सञ्चालन हुने गरेको उनको भनाइ छ ।
यदि सवारीसाधन सञ्चालन हुने रुटमा जाँदा यात्रु पाइने र आउँदा खाली आउनुपरेको खण्डमा कम्पनीले सवारी नचलाउन सकिने साना–ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका निमित्त प्रमुख मधुकुमार काररन्जितले बताए । ‘संघ तथा प्रदेशबाट पठाइएको नीतिनियम मात्र कार्यालयले कार्यान्वयन गर्छ,’ उनले भने, ‘उपत्यकाको सार्वजनिक सवारीसाधन व्यवस्थापन गर्न छुट्टै कार्यक्रम तथा नियम बनाउँदैन ।’ रुट परमिट दिँदा चौबिसै घन्टा सवारीसाधन चलाउनु भनी दिइने गरेको उनले बताए ।


चढ्नेबित्तिकै १५ रुपैयाँ
सरकारले एक वर्षअघि काठमाडौं, भक्तपुर र ललितपुरमा न्यूनतम भाडादर १४ रुपैयाँ निर्धारण गरे पनि यातायात व्यवसायीले १५ रुपैयाँ लिइरहेका छन् । यातायात व्यवस्था विभागले ०७५ असोज ७ मा चार किलोमिटरसम्म यात्रा गर्दा १४ रुपैयाँ भाडा निर्धारण गरेको थियो । तर, व्यवसायीले सर्वसाधारणसँग एक रुपैयाँ बढी लिएर ठगी गरिरहेका छन् ।
काठमाडौं उपत्यकामा एउटा माइक्रोमा कम्तीमा २५ जनाले यात्रा गर्छन् । त्यही रुटमा फर्कंदा अरू २५ जनाले थप यात्रा गर्छन् । यसरी एउटा माइक्रोले आठपटक ओहोरदोहोर गर्दा दिनमा दुई सय जनाभन्दा बढी यात्रु बोक्छन् । माइक्रो मात्रै होइन अन्य सार्वजनिक यातायातले पनि यसरी नै न्यूनतम १४ रुपैयाँको सट्टा १५ रुपैयाँ लिने गरेको पाइएको छ ।
प्राध्यापक सूर्यराज आचार्यले केही वर्षअघि गरेको अध्ययनअनुसार काठमाडौं उपत्यकामा दैनिक १२ लाख जनाले यात्रा गर्छन् । व्यवसायीले सरकारले तोकेभन्दा बढी भाडा असुल गरिरहेको अध्ययनले देखाएको छ । एकजना यात्रुबाट दैनिक औसतमा तोकिएको दरभन्दा चार रूपैयाँ बढी भाडा असुल्ने गरेको पाइएको उक्त अध्ययनले बताउँछ । अध्ययन भन्छ, ‘यातायात व्यवसायीले काठमाडौं उपत्यकाबाट मात्रै दैनिक १२ लाख यात्रुबाट ४८ लाख रुपैयाँभन्दा बढी ठगी गरिरहेका छन् ।’ यसका आधारमा एक वर्षमा १ अर्ब ७२ करोड ८० लाख रुपैयाँ व्यवयासीले ठगी गरे पनि सरकारले अनुगमनसमेत गर्न सकेको छैन । ‘यातायात क्षेत्रमा त खुलेआम ठगी भइरहेको छ,’ कानुन व्यवसायी एवं उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘तोकिएभन्दा बढी भाडा उठाउँदा पनि कारबाहीको भागीदार बनाइँदैन ।
सार्वजनिक यातायातको व्यवस्थापन सहज बन्न नसक्दा सर्वसाधारण सधैंजसो कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । ‘पैसा तिरेर पनि सहज यात्रा गर्न पाइँदैन । कोचिएर यात्रा गर्दा बस/माइक्रोका चालक र सहचालकको दुर्व्यवहार सहनुपर्छ,’ बानेश्वरबाट महाराजगन्जसम्म दैनिक नेपाल यातायात चढ्ने सुस्मिता बस्नेतले भनिन्, ‘भाडामा उस्तै किचकिच हुन्छ ।’
उपत्यकामा साँझ ८ बजेपछि सवारीसाधन नपाएपछि ट्याक्सीमा महँगो भाडा तिर्नुपर्ने अर्को बाध्यता छ । कतिपय सहचालकले त विद्यार्थी कार्ड देखाउँदा पनि दुर्व्यवहार गर्ने गरेका छन् । ‘बिहान र बेलुका त कार्ड देखाउन पनि डर लाग्छ,’ त्रिचन्द्र क्याम्पसमा अध्ययनरत नवराज आचार्यले भने, ‘भाडा छुट माग्दा झर्किने र कार्डै फ्याँकिदिने गर्छन् ।’


ॅछैन कार्ड छुट’
सूर्यविनायक–६ नयाँबस्तीकी रिता श्रेष्ठ खिचापोखरीमा फेन्सी पसल चलाउँछिन् । रत्नराज्य क्याम्पसमा अध्ययनरत श्रेष्ठ कलेजबाट पसल पुग्छिन् । पसल बन्द गरेर घर फर्किंदा दिनहुँ साँझको साढे ७ बज्छ । पुरानो बसपार्कबाट बस चढेकी उनलाई सूर्यविनायक पुग्न झन्डै एक घन्टा लाग्छ । बसपार्कबाटै बस चढ्ने उनले सिट त पाउँछिन् तर, विद्यार्थीले पाउने भाडा छुट भने कहिल्यै पाउँदिनन् । ‘८ बजेपछि चालक, सहचालकले भाडामा छुट दिँदैनन्,’ उनले भनिन्, ‘भाडाको विषयमा विवाद गर्नै छोडिसकेँ, एक दिन होइन दुई दिन होइन, कति झगडा गर्नु ।’
साँझ सार्वजनिक बसमा यात्रा गर्ने अधिकांश विद्यार्थी र ज्येष्ठ नागरिकले समेत भाडामा छुट पाउँदैनन् । बसका कर्मचारीले आफूखुसी निर्णय गर्दै छुट दिँदैनन् । सहचालकले बस चढ्नुअघि नै ‘कार्ड छुट छैन’ भन्दै यात्रु कोच्छन् । ‘चालक/सहचालकको मनपरी छ, ८ बजेपछि छुट पाउन त नसोचे हुन्छ,’ अर्का यात्रु रविन कुम्पाखले भने ।

उपत्यका

‘दिउँसो खाली चलाउनुपर्छ’

- कान्तिपुर संवाददाता

बानियाँटार, मनमैजु, म्हेपी, टोखा, सहेन्सामा हाम्रो कम्पनीको गाडीबाट सेवा दिइरहेका छौं । हामीसँग १ सय ३५ गाडी आबद्ध छन् । बानियाँटारमा मात्रै २८ वटा गाडी चल्छन् । अफिस समयमा यात्रु बढी भए पनि दिउँसो खाली गाडी गुडाउनुपर्छ । अब यो रुटमा बस हाल्ने तयारी गरिरहेका छौं ।
– सानुकाजी प्रजापती
अध्यक्ष, सामाखुसी यातायात

Page 6
विविधा

मनयुद्ध

सिउँडी
- विमल निभा

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युगल अध्यक्षमध्ये एक अध्यक्ष अध्यक्ष कमरेड पुष्पलाल दाहाल ‘प्रचण्ड’ एकपटक फेरि आन्दोलन गर्ने आकस्मिक मुडमा देखिएका छन् । एक अर्धसरकारी समारोहमा उनले महाप्रचण्ड शैलीमा उद्घोष गरे– ‘म पुनः क्रान्तिमा जान सक्छु ।’ अब खुद क्रान्तिले चाहिँं कमरेड प्रचण्डलाई उही जोश एवं स्फुर्तीका साथ स्वीकार गर्ने हो या होइन, यो बेग्लै कुरो हो । म त्यतातिर नगएर फगत के भन्न चाहन्छु भने कदाचित पुराना माओवादी कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपटक फेरि क्रान्तिको दुनियाँमा प्रवेश गरे के हुनेछ !
१. कुनै समय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साँच्चिकै जनयुद्धमा नेतृत्वदायी भूमिकाको निर्वाह गरेका थिए । उनकै पहलमा क्रान्ति भएकोमा कुनै सन्देह छैन । यद्यपि जनयुद्धले एक प्रकारको अपूर्णता बेहोर्नुपरेको पनि सम्पूर्ण सत्य हो । जे होस्, कमरेड प्रचण्डले एकपटक फेरि क्रान्तिमा जाने मनस्थिति बनाएका छन् । त्यसउसले अबको युद्ध मनयुद्ध हुने निष्कर्षमा सहजै पुग्न सकिन्छ ।
यस्तो हुने हो भने यो क्रान्तिको नितान्त नयाँ मोडल हुनेछ । अर्थात फरक मोडल । कुन्नि, मनयुद्धको सार, स्वरुप र पहिचान के हुनेछ !
२. यो मनयुद्ध महान चिनियाँ क्रान्तिका सूत्रधार कमरेड माओत्सेतुङको वैचारिक ढबढाचा बमोजिम हुने कुनै सम्भावना छैन । यसको कारण के हो भने एकदमसँग मनयुद्ध गर्न तम्सिएका कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् नै गैरमाओवादीमा परिणत भइसकेका छन् । तसर्थ वैकल्पिक हिसाब–किताबले कमरेड माओका समकालीन अर्का चिनियाँ नेता च्याङकाइसेकको नीति तथा नियममा मनयुद्ध हुने हो कि ?
३. कुनै बेलाको जनयुद्धका अर्का समानान्तर नेता अर्थात् पहिलेका कमरेड बाबुराम भट्टराई (मतलब लालध्वज कमरेड) को साथ कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनयुद्धमा हुनेछ अथवा हुने छैन, यो ज्ञात हुनसकेको छैन । मेरो विचारमा त उनले बाबुरामको सरसहयोग पाउने पक्कापक्की रहेको छ । किनभने यो जनयुद्ध नभएर मनयुद्ध हो । शतप्रतिशत मनयुद्ध । र मनयुद्धका लागि हालका बाबुराम भट्टराई जतिका उपयुक्त योद्धा अरु को हुनसक्छ ?
४. जनयुद्धकालको ‘प्रचण्डपथ’को कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनयुद्धमा के गर्नेछन्, यो पनि एउटा रोचक विषय हो । मलाई त उनले मनयुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष याने वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको पथको पूर्णतया अनुशरण गर्नु हुनेछ भन्ने लागेको छ । किनभने मनयुद्धका निम्ति ओलीपथ जतिको व्यावहारिक एवं भरपर्दो अरु हुनै सक्दैन ।
५. यस सन्दर्भमा मेरो ‘मनयुद्ध’ गर्न अग्रसर कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटा व्यक्तिगत सुझाव रहेको छ । मेरो भन्नु के हो भने उनले तमाम झञ्झट–सञ्झटको त्याग गरेर सोझै कुनै विदेशी अथवा स्वदेशी एनजीओलाई मनयुद्धको सम्पूर्ण अभिमारा किन नदिने ? यसले एकसाथ दुई लाभ हुनेछ । एक, आफ्नो आरामीमा कुनै खलल पुग्ने छैन । र अर्को के भने एनजीओको देशी/विदेशी सम्बद्धताले मनयुद्ध सुचारु ढंगले हुने ग्यारेन्टी प्राप्त हुनेछ ।

अन्त्यमा,
ऐतिहासिक जनयुद्ध बाह्र बुँदेमा टुंगिएको थियो । अब मनयुद्धको समाप्तिचाहिँं कति बुँदामा हुनेछ, यो पनि कम्ता रोचक विषय होइन । अर्थात् एकचोटी फेरि बाह्र बुँदेमा मनयुद्ध पनि सकिनेछ या यसमा अरु एकाध बुँदा थपथाप हुनेछ, यो प्रतीक्षाको विषय हो ।

विविधा

उज्यालो पर्व तिहार

- डा. गोविन्द टन्डन

दसैंको रमझम सकिएपछि उल्लास र उज्यालोको पर्व तिहार आउँछ । कात्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भई द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने यो पर्वको आफ्नै महत्त्व छ । यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घर–घरमा दीप बालेर सजाइने हुनाले केही समययता यो पर्वलाई दीपावली भनिन्छ । तिहारको प्राचीनताबारे पौराणिक आख्यानहरूदेखि हाम्रो संस्कृतिमा तिनले पाएको निरन्तरताले केही न केही इतिहास बताइरहेको छ ।
तिहारको रौनक पशुपन्क्षीहरूदेखि दाजुभाइ–दिदीबहिनीहरूबीच एकआपसमा तथा आफूले आफैलाई ‘म्हःपूजा’को रूपमा आत्मसम्मान गर्नुमा पनि छ । यो फूलैफूलले घरबारी, बगैंचा र आँगनमात्र होइन, दाजुभाइलाई मखमली, दुबो, सयपत्री र गोदावरी फूलका सुन्दर मालाहरू लगाइदिएर आशिर्वाद र स्नेहले भरिपूर्ण तुल्याइदिने पर्व हो । तिहार राजसी, तामसीभन्दा पनि बढी सात्विक पर्व हो भन्दा फरक पर्दैन । यस पर्वमा के केटाकेटी, के वृद्धवृद्धा, सबैजसो फलफूल र थरीथरीका मिठाइमा रमाएका हुन्छन् । सेल, अनर्साजस्ता परम्परागत मिठाइहरू घर–घरमा बनाएर ताजा खाने परम्परा नेपालभरि नै छ । लक्ष्मीपूजाको दिन घरमै बनाएको विभिन्न प्रकारका मिठाइ एवं सेलरोटी लक्ष्मीलाई चढाउने चलन छ ।
तिहारको पहिलो दिन कागको पूजा गरी दुनाबोतामा दालभात, तरकारीसहितका पक्वान्न खान दिने चलन छ । कागलाई किन पूजा गरेको होला ? काग कुनै बखत समाचारको संवाहक मानिन्थ्यो । उसको बसाइ, बोलीको शैली, हाउभाउले हाम्रा पुर्खाहरू शुभ र अशुभ कुराको लख काटेर समय कटाउँथे, आफन्त नआउन्जेलसम्म । हिजोआज यस्ता कुरालाई रुढीबुढी र अन्धविश्वास भनिन्छ । यस्ता चलन हराउँदै जानथालेका छन् । कागलाई वर्षमा एकदिन सम्झिने चलन भने अझै छ । कागले कतिपय रोगका कारक तत्त्वहरू मानिएका फोहोरलाई खाएर वरपरको वातावरण सफासुग्घर तुल्याइदिन्छ र मानिसको भलो गरिरहेको हुन्छ ।
कागको पूजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोबर्धनपूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हःपूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका सम्पन्न गरिन्छ ।
कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनको आफ्नै प्रकारको आख्यान पाइन्छ । मृत्युका अधिपति यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुनाकहाँ यो पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको माहात्म्य पाइन्छ । भाइटीकाको दिनको पूजा तिनै यमराज र यमुनाको नाममा समर्पित छ । त्यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइहरूलाई असमयमै
नडाकुन् भन्ने चाहना अभिव्यक्त भएको हुन्छ, प्रकारान्तरले । कुकुर पूजाकै दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
चौथो दिन गाईपूजा गर्ने प्रचलन छ, यसलाई गोबर्धनपूजा पनि भन्छन् । उहिल्यै मानिसको सम्पत्ति भन्नु नै कसको घरमा कति गाई छ, त्यसबाट अडकल काटिन्थ्यो । दुहुना गाईलाई समृद्धिको प्रतीक मान्ने चलन थियो । गाईवस्तुलाई ‘गोधन’ भनिन्थ्यो । अहिले समय परिवर्तन भएको छ । गाईवस्तुले जति सम्मान पाउनुपर्थ्यो, त्यसबाट समाज विचलित हुँदैछ ।
गाईपूजाका दिन गोबर्धन पर्वत तथा बलिराजाको पनि पूजा हुन्छ । गोबर्धन पर्वत पूजाको प्रसङ्ग भगवान् कृष्णसित जोडिएको छ । गोपालहरूका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्‍याउने भएकाले पर्वतको प्रतिनिधिस्वरूप गोबर्धन पर्वतको पूजा हुन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिंगारेर गोबर्धन पूजा गरिन्छ ।
समयको अन्तरालमा विस्तारै सम्पत्ति भनेको अरू धनदौलत आउन थाले । एकातिर गाईलाई लक्ष्मीको स्वरूप मान्ने प्रचलन अर्कोतिर गाईको दूध, दही, घियु, गहुँत, गोबरसमेतको शास्त्रीय महत्त्व र मान्यताको कारण पनि गाईलाई नेपाली संस्कृतिमा धेरै महत्त्व दिइएको छ । गाईलाई गरेको सेवाले वैतरणी नदी तर्न सहयोग पुर्‍याउँछ भन्ने पनि शास्त्रीय मान्यता छ । गाईको सेवाले मानिसलाई रोगव्याधिदेखि मुक्त राख्न दूध, दही, घियुले मद्दत पुर्‍याउँछ । त्यसैले गाईलाई लक्ष्मीजस्तो ठान र आमा बराबर सेवा गर भनेको संकेत बुझ्न नसक्दा हिजोआज गाईलाई व्यावसायिक रूपले कसरी दोहन गरिरहेका छन् र अमृतमय हुनुपर्ने गोरस विषसमान बन्दै गइरहेको स्मरणीय छ । जसको कारण भेगन आन्दोलन विश्वव्यापी बन्दै गइरहेको पनि सम्झनुपर्छ । धार्मिक, वैज्ञानिक एवं आयुर्वेदीय दृष्टिकोणले मानिसको आयु बढाउन गाईको दूध, दही, घियु, महीको ठूलो महत्त्व छ । त्यत्तिमात्र होइन, गोबर र गहुँतसमेत उच्चकोटीको प्राङ्गारिक मलको रूपमा प्रसिद्ध मानिन्छ । यसैले हाम्रो संस्कृतिमा गाईपूजनलाई स्थान दिइयो । तर पूजनले मात्र पुग्दैन, गाईको वास्तविक सेवा गर्न सकियो भने राष्ट्रको सेवा पनि हुन्छ भन्ने संकेत संस्कृतिले दिइरहेको कुरालाई बुझ्न सकेनौं भने हामी पछि पर्छौं ।
दाजुभाइ र दिदीबहिनी बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार । दुबैले एकआपसमा श्रद्धाभक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर एकआपसमा आयु आरोग्य दीर्घायु होस्, रोगव्याधिले दुःख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ । दाजुभाइ र दिदीबहिनी बीचको सौहार्दता, सद्भाव र घनिष्ट सम्बन्धलाई अरू प्रगाढ बनाउन भाइटीका पर्वको ठूलो भूमिका छ । दिदीबहिनीले आफ्ना दाजुभाइहरूलाई गक्ष अनुसारको कटुस, ओखर लगायतको मरमसला, मिष्ठान्न एवं फलफूलहरू तथा दाजुभाइले दिदीबहिनीहरूलाई हातमा दक्षिणा राखेर खुट्टामा ढोग्ने चलन छ । यस्तो संस्कृति विश्वमा दुर्लभमात्र होइन, छँदै छैन भने हुन्छ । धेरै दाजुभाइहरू भाइटीकामा दिदीबहिनीहरू आउलान् र निधारमा सप्तरङ्गी इन्द्रेणी टीकाले आफ्नो निधार सजाउन पाइएला भनेर पर्खेर बसेका हुन्छन् । कतिको पर्खाइ काम लाग्छ, कति त्यसबेला भक्कानिन्छन्, दिदीबहिनीहरू आउन नसकेर निधार खाली भएकोमा । आफूले सम्झेजस्तो समय, परिस्थिति कहाँ हुन्छ र ?
काठमाडौंका दिदीबहिनीहरूले आआफ्ना दाजुभाइ नभएको रिक्ततामा भाइटीकाको दिन रानीपोखरीको बीचमा रहेको मन्दिरभित्रको बालगोपाल अर्थात् भगवान् श्रीकृष्णको बालस्वरूपलाई दर्शनपूजन गर्ने गर्छन् । हिजोआज केही दिदीबहिनीहरूले ठाउँ–ठाउँमा सामूहिक भाइटीकाको माहोल सिर्जना गरेका छन् । हनुमानढोका नजिकको काष्ठमण्डपबाट विगत बाह्र/तेह्र वर्षअघि सुरु भएको यो चलनले नेपालका विभिन्न ठाउँका दिदीबहिनीहरूलाई प्रेरित गरेको छ र त्यस दिन दिदीबहिनी नभएका दाजुभाइहरू त्यसरी आयोजना हुने समारोहमा पुग्न भ्याई–नभ्याई गरिरहेको दृश्य देख्न सकिन्छ ।
तिहारको अर्को रौनकता भनेको दीपावली र देउसीभैलो हो । घर–घर, मठमन्दिर र ठूलठूला भवन र कार्यालयहरूमा रङ्गीविरङ्गी बत्तीले झिलीमिली पारी आँगन सजाउने चलनले वातावरण नै मनमोहक बनेको हुन्छ । पहिले–पहिले माटोले बनेको ‘पाला’मा काँचो धागोले बनाएको बत्तीमा तोरीको तेल हालेर बालेको दीयोबत्ती घर, आँगन, चोटाभरि ठाउँ–ठाउँमा लहरै बाल्ने चलन थियो । अहिले गाउँघरमा कहीं कतै केही मात्रामा पालाको चलन भए पनि सुगम, दुर्गम सबैतिर लहरे बिजुलीका ससाना बल्बहरूको मालाले घर सिँगारपटार गर्ने चलनले व्यापकता पाइरहेको छ ।
लक्ष्मीपूजाका दिनमा भैलो र गोबर्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ । पहिले–पहिले भैलो महिलाले र देउसी पुरुषले खेल्ने गरिन्थ्यो । आजकाल यो बिर्से जस्तो छ । अहिले महिला–पुरुष दुवैले देउसी–भैलो खेल्न थालेका छन् । यसबेला भट्टयाइने गाथाहरू थरीथरीका हुन्छन् । देउसी र भैलीकै लागि केटाकेटीहरूले अनेक प्रकारका गीत, सङ्गीत र भाकाहरू तयार पारेका हुन्छन् र घर–घरमा गएर आफ्नो प्रतिभा देखाउन लामो समयदेखि तयारी गरिरहेका हुन्छन् । देउसी–भैलीहरूले आशिर्वाद दिन्छन् ।
देउसी र भैलोको दक्षिणा संकलनबाट ठाउँ–ठाउँमा विद्यालय, चौतारा, ढुङ्गेधारा, पाटीपौवा लगायत उल्लेख्य सामाजिक कार्य गर्ने संस्थाहरू पनि बनाइएका छन्, बनाइन्छन् । लक्ष्मीपूजाको दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ । चन्द्रमा लक्ष्मीका सहोदर भाइ मानिने भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नुपर्ने कुराको प्रसिद्धि छ ।
तिहारलाई आर्थिक–सामाजिक पक्षसँग पनि जोडेर हेर्न सकिन्छ । जङ्गली कटुस, ओखर, निबुवाजस्तो अरू बेला कसैले वास्ता नगर्ने तर तिहारको बेला हारालुछ हुने फलले कुनै पनि उपलब्ध वस्तु निकम्माको छैन, त्यसलाई समय अनुसार सदुपयोग गर्‍यो भने अर्थोपार्जन हुनसक्छ भनेर सिकाइरहेको हुन्छ ।
तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ । बाहिर मात्र उज्यालो ल्याउने र बनाउने नभई अन्तर्हृदयमै उज्यालो ल्याउन हामी प्रयत्नरत हुनुपर्छ भनेर दीपावलीले संकेत गरिरहेको हुन्छ । त्यसैले तिहार उज्यालोको पर्व हो ।

विविधा

तल्लो मनाङको भाइटीका

आउँदो मंगलबार नेपालभित्र र नेपाल बाहिर रहेका विभिन्न हिन्दु समुदायहरूमा आफ्ना दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई सप्तरङ्गी टीका लगाउने र मिठो–मिठो खानेकुरा खान दिने र दाजुभाइहरूले पनि आफ्नो क्षमता अनुसार दक्षिणा दिनेछन् । वास्तवमा दाजुभाइ र दिदीबहिनीको बीचमा मनाइने तिहार चाडले उनीहरू बीचको आत्मीयताको धागोलाई बलियो बनाउँदै ल्याएको छ ।
भाइटीका एउटै कोखमा जन्मिएका दाजुभाइ र दिदीबहिनीको माझमा मनाइने गरेको पाइन्छ । दिदीबहिनी नभएको अवस्थामा दाजुभाइले ठूलोबुबा वा काकाका छोरीहरूसँग भाइटीका लगाउने चलन छ । यो बाहेक दिदीबहिनी र दाजुभाइका छोराछोरीहरूका बीचमा पनि तिहारको टीका लगाउने चलन मामाचेला, फुपूचेली विवाह नगर्ने समुदायमा रहेको पाइन्छ । नजिकका नातेदार नभएकाले दिदीबहिनी वा दाजुभाइ बनाएर पनि तिहारमा भाइटीका लगाउने चलन छ । तर तल्लो मनाङका गुरुङहरूले मनाउने भाइटीका माथि उल्लेख गरिएको भाइटीकाभन्दा फरक छ । तिनीहरूको भाइटीका व्यक्ति वा पारिवारिक घेराभन्दा माथि उठेको छ ।
मनाङ जिल्ला भौगोलिक रूपमा न्हासोंँरग्याल्सुम्दो (तल्लो मनाङ), ङिसाङ (माथिल्लो मनाङ) र नारफुमा विभाजित छ । फरक–फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने समुदायको सांस्कृतिक चलन पनि फरक छ । ङिसाङ र नारफुमा तिव्बती संस्कृतिको प्रभाव बढी छ । न्हासोँंमा लामा र गुरुङहरूको बसोबास छ । लामाहरूमा तिब्बती बौद्ध संस्कृतिबाट बढी प्रभावित छन् । आफ्नो छुट्टै सांस्कृतिक पहिचान र प्रचलनहरू हुँदाहुँदै पनि गुरुङहरूले हिन्दु र बौद्ध संस्कृति तथा चाडपर्वलाई आत्मसात गरेको पाइन्छ । यद्यपि लम्जुङसँग सामाजिक रूपमा बढी नजिक रहेकोले उनीहरूको संस्कृतिमा हिन्दु धर्म र संस्कृतिको प्रभाव बढी छ । तर पनि उनीहरूले मनाउने हिन्दु चाडपर्वहरू अन्य भेगका हिन्दु धर्मावलम्बीहरूले मनाउने विधिभन्दा फरक छ । यसको उदाहरण तिहारको भाइटीकालाई लिन सकिन्छ ।
हिन्दु पात्रो अनुसार तिहार पाँच दिनसम्म मनाउने गरिन्छ । त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ । पहिलो दिन काग तिहार अर्थात यमको सूचनाको संवाहकको रूपमा कागलाई खाना दिएर पूजा गर्ने चलन छ । दोस्रो दिन कुकुरलाई यमको वाहनको रूपमा पूजा गर्ने चलन छ । न्हासोँंका गुरुङहरूले पनि तिहारका पहिला दुई दिनलाई खासै महत्त्व दिँदैनन् । तिहारको तेस्रो दिन अर्थात लक्ष्मीपूजाको दिन । यो दिन न्हासोंँका गुरुङहरूका लागि महत्त्वपूर्ण छ । महिलाहरू बिहान घरको लिपपोत गरेर चोखो पार्ने काममा व्यस्त रहन्छन् । सयपत्री फूलको माला घरका ढोकामा झुन्ड्याएर धनधान्यकी देवी लक्ष्मीलाई हरेक घरले स्वागत गर्छन् । गाईगोठ हुने घरपरिवारले गोठमा गएर गाईलाई सयपत्री फूलको माला लगाएर खानेकुरा दिएर गाईपूजा गर्छन् । दिनभरि चोखो पारिएका भाँडाकुँडामा महिलाहरू अन्न, खानेकुरा र पैसा राख्छन् । भाँडाको माथि बलेको दीयो राखी घरका सबै सदस्यहरूले धनधान्यकी देवीको पूजापाठमा गर्छन् । धनधान्यकी देवीको पूजापाठले लक्ष्मीको घरमा बास हुने हुँदा आर्थिक समस्या नहुने जनविश्वास मनाङका गुरुङहरूमा रहेको छ । रातमा महिला तथा पुरुषहरू देउसीभैली खेलेर रमाइलो गर्छन् ।
तिहारको चौथो दिन गोरुको पूजा । अघिल्लो दिनझैं गाईगोठ हुने घरपरिवारले गोठमा गएर गोरुलाई सयपत्री फूलको माला लगाएर खानेकुरा दिन्छन् । दिउँसो केटा र युवाहरू देउसी खेल्छन् ।
तिहारको अन्तिम दिन भाइटीका । दाजुभाइ र दिदीबहिनीहरूको बीचमा टीका साटासाट गर्ने भएकोले यो दिनको बढी महत्त्व छ । दाजुभाइहरूलाई खुवाउनका लागि दिदीबहिनीहरूले सेलरोटी र रक्सी अघिदेखि नै बनाउँछन् । गाउँभन्दा बाहिर भएका दिदीबहिनीहरूले आफ्नो घरमा नै सेलरोटी र रक्सी बनाई दाजुभाइहरूलाई खुवाउन ल्याउँछन् । यसरी दिदीबहिनीले तिहारमा दाजुभाइका लागि खुवाउन बनाएको परिकारलाई गुरुङ भाषामा ‘रोमे’ भनिन्छ ।
धेरैजसो जातजातिमा भाइटीका लगाउँदा भएसम्म एकै कोख वा बाबुबाट जन्मिएका दाजुभाइ–दिदीबहिनीहरूका बीचमा लगाउने चलन पाइन्छ । त्यसैले छोराहरू वा छोरीहरू मात्र भएका घरपरिवारमा तिहार मिठोसित आउँदैन भनिन्छ । तर मनाङको न्हासोंँ गाउँमा पुग्दा यो दृश्य फरक देखिन्छ । त्यहाँका गुरुङहरूमा भाइटीका लगाउन एकै कोखबाट जन्मिएका दाजुभाइ–दिदीबहिनी नै हुनुपर्छ भन्ने छैन । यो गाउँमा एकै कोखबाट जन्मिएका दाजुभाइ–दिदीबहिनीहरूका बीचमा मात्र भाइटीका लगाउनेभन्दा आफ्नो खलकका दाजुभाइ–दिदीबहिनीहरूका बीचमा सामूहिक रूपमा भाइटीका लगाउने प्रचलन छ । जस्तै– क्रोम्चे थर भएका गुरुङ दाजुभाइ दिदीबहिनीले एक ठाउँमा भेला भएर भाइटीका लगाउँछन् भने पच्यु थरकाले अर्को घरमा भेला भएर भाइटीका लगाउँछन् । यसले पनि यहाँका बासिन्दामा संकुचित व्यक्तिवाद वा परिवारवादभन्दा अन्तरपरिवारवादको सामूहिक भावना बढी छ भन्ने प्रतिविम्बित हुन्छ ।
गुरुङ समुदायमा छोराहरूको विवाहपश्चात पारिवारिक रूपमा अलग हुँदै जाँदा बाबुआमा पाल्ने कर्तव्य कान्छो छोरोमा जान्छ । बुबाआमासँग कान्छो छोरो बसेकोले उनीहरूको शेषपछि मूलघर पनि उसैको नै हुन्छ । त्यसैले यस गाउँका गुरुङहरूमा कान्छो छोराको घर मूलघर मानिन्छ । तिहारमा पनि आफ्नो खलकका दाजुभाइ–दिदीबहिनीहरू टीका लगाउन मूलघरमा जम्मा हुन्छन् । ताचे गाउँमा पाँच गुरुङ खलक– साप्री घले, रिल्थे घले, थिमे गुरुङ, क्रोमे गुरुङ र पच्यु गुरुङ रहेकाले पाँच घरमा भेला हुन्छन् । अन्य थरका मानिसहरू मितेरी नाता रहेका गुरुङसँग बसेर भाइटीका लगाउने गर्छन् ।
भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी मात्र बसेर लगाएको देखेका जोकोहीलाई न्हासोंँको ताचे बस्तीको गुरुङ समुदायमा प्रचलन देख्दा नौलो लाग्न सक्छ । यहाँ बाजेदेखि नातिसम्म एकै लहरमा बसेर भाइटीका लगाउने अनौठो चलन छ ।
अनौठो त हरेक दिदीबहिनीहरूको अलग–अलग ठाडा धर्सा बनाएर सप्तरङी टीका लगाउने चलन छ । निधारमा देखिने टीकाका ठाडा धर्साले कुनै दाजुभाइका कतिजना दिदीबहिनी रहेछन् भन्ने बुझ्न गाह्रो पर्दैन । जति धेरै दिदीबहिनी त्यति नै धेरै संख्यामा दाजुभाइका निधारमा टीकाका धर्सा हुन्छन् ।
तिहारमा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने, मिठो–मिठो खुवाउने र उपहार दिने र दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा दिने प्रचलन जहाँकहीँ देख्न सकिन्छ । न्हासोंँका दिदीबहिनीहरू भाइटीकाको अघिल्लो दिनदेखि नै दाजुभाइलाई खुवाउने परिकारको जोरजाममा लाग्छन् । सेलरोटी, तरकारी र रक्सी नै दाजुभाइलाई खुवाउने मुख्य परिकारहरू हुन् । सामूहिक रूपमा भाइटीका लगाउने भएकाले दाजुभाइलाई खुवाउने परिकारहरू तयार पार्न लाग्ने खर्च पनि दिदीबहिनीहरूले दामासाही रूपमा उठाउने गर्छन् । लहरै बसेका दाजुभाइलाई दिदीबहिनीले भाइटीका लगाइसकेपछि सयपत्री फूलको माला दाजुभाइको गलामा पहिरिने र शिरमा ढाकाटोपी लगाइदिन्छन् । दिदीबहिनीहरूले दाजुभाइहरूका शिरमा लगाइदिने ढाकाको टोपी पनि एकै किसिमका हुन्छन् । अलग–अलग परिवारका दाजुभाइ–दिदीबहिनीहरू एकै लहरमा, एकै किसिमका परिकार ग्रहण गर्दै र एकै किसिमका उपहार दिएको देख्दा यस भेगका गुरुङहरूमा सामाजिक समानताको भावना उच्च रहेको प्रतिविम्बित हुन्छ । अन्य समाजमा भन्दा यहाँका दाजुभाइले दिदीबहिनीहरूलाई दक्षिणा दिने प्रचलन पनि फरक छ । दाजुभाइले दिदीबहिनीलाई व्यक्तिगत रूपमा दक्षिणा नदिई सामूहिक रूपमा दिने चलन छ । यसरी संकलन भएको रकम पनि दिदीबहिनीहरूले तिहारको खर्च गर्न र दाजुभाइका लागि सामूहिक भोजमा खर्च गर्छन् । तिहारको टीका लगाउने काम समाप्त भइसकेपछि दाजुभाइ र दिदीबहिनीहरू नाचगान गरेर रमाउने गर्छन् । नाचगान सँगसँगै दाजुभाइहरूले आफ्नो खलकभन्दा बाहिरका दिदीबहिनीहरूलाई पैसा दिन्छन् । यसलाई ‘फूल’ लगाउने भनिन्छ ।

जीवनमणि पौडेल
पौडेल मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा उपप्राध्यापक छन् । 

Page 7
विविधा

सी विचारधाराको सार

 

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य, ऐतिहासिक र उपलब्धिमूलक रह्यो । यही सन्दर्भमा नेकपा स्कुल विभागले सी विचारधाराबारे बहस पनि चलायो । यसको भूअर्थराजनीतिक महत्त्वबारे प्रकाश पार्दै घनश्याम भुसालको कार्यपत्रमाथि कम्युनिस्ट नेताहरूले पार्टीबाहिर पनि छलफल गरे । पार्टीको कार्यशालामा डा. महेश मास्केको चिनियाँ समाजले भोगेको नयाँ अन्तरविरोधमाथि सी विचारधारा उभिएको कार्यपत्रमाथि छलफल भयो । ठीक यसैबेला विपक्षीहरूबाट नेकपा सी विचारधारातर्फ गयो भन्ने मिडियाबाजी हुनासाथ नेकपाका नेताबाट त्यसो होइन भन्ने प्रतिवादी अभिव्यक्ति आयो । प्रतिवाद गर्न खोज्दा अलि चिप्लेको र दूरी राख्न खोजेको जस्तो पनि देखियो । सी विचारधारालाई चीनको सन्दर्भमा नयाँ आवश्यकता, चीनको अभ्युदय र विश्व कम्युनिस्ट आन्दोलन र राजनीतिलाई पार्न सक्ने प्रभाव, आपसी सिकाइ आदि कोणबाट विश्लेषण गर्ने कुरामा नेकपाका नेताहरू प्रवेश नै गर्न भ्याएनन् । सी भ्रमणको पूर्वसन्ध्यामा यस्तो ‘डिस्कोर्स’ हुनसक्दा यसले परिपक्व वैचारिक बुझाइ निर्माणमा मद्दत गर्थ्यो । यसले कूटनीतिक मर्यादालाई पनि झल्काउँथ्यो ।
चीन र नेपालको कम्युनिस्ट पार्टीको राजनीतिक परिवेश र धरातल फरक भए तापनि आपसी सिक्ने कुरा धेरै छन् । फरक राजनीतिक धारका राजनीतिज्ञ जवाहरलाल नेहरूका चीनसँगको सुरुका सम्बन्धहरू र बीपीको आत्मवृत्तान्त हेर्ने हो भने उनीहरूले समेत माओका कतिपय नीतिको प्रशंसा गरेको देखिन्छ । जबकि माओबाट पनि जीवनको उत्तरार्द्धमा कमजोरी भए भन्ने कुरा स्ययम् चिनियाँ कम्युनिस्ट पार्टीले नै स्वीकारेको छ । राष्ट्रपति सीले नेपाली काग्रेससँग सम्बन्ध बढाउन चाहनु र शेरबहादुर देउवालाई चीन आमन्त्रण गर्नुको अर्थ नेपालको बहुदलीय परिपाटीलाई चीनले सम्मान गरेको मात्र नभई सत्तापक्ष र विपक्ष दुबैसँग राम्रो सम्बन्ध राख्न चाहेको द्योतक हो । नेपालका बजारी हल्लालाई पनि चीनले नजिकबाट नियालेको हुनुपर्छ । मनमा आशंका भए पनि कांग्रेसका नेताहरूले सी भ्रमणताका चीन–नेपाल सम्बन्धलाई केन्द्रमा राखी सन्तुलित अभिव्यक्तिहरू दिए । फरक राजनीतिक खेमाहरूमा पनि आपसी सिकाइ हुनसक्छ भने कम्युनिस्ट पार्टीहरूमा यो अझ स्वाभाविक हुन्छ । चिनियाँ राष्ट्रपतिले आफ्नो गिलास तल पारेर हाम्रो राष्ट्रपतिलाई टोस्ट सम्मान प्रकट गर्नु, तर द्विपक्षीय पार्टी बैठकमा कलि कडा विचार प्रकट गर्नु मिडियामा आएका टिप्पणीबाट राष्ट्रपति सी बेखबर थिएनन् भन्ने सहजै बुझ्न सकिन्छ । नेकपाका अध्यक्ष प्रचण्डले यो हामीलाई नै भनेजस्तो लाग्यो भन्ने अभिव्यक्तिले पनि राष्ट्रपति सीले नेकपातर्फ केही संकेत गर्न खोजेको प्रस्ट हुन्छ ।
सीपीसी स्थापना र क्रान्ति सम्पन्न भएको एक सय वर्ष (सन् २०२१ र सन् २०५०) मा चीनले पहिलो चरणमा मध्यम खाले समृद्धि हासिल गरी दोस्रो चरणमा आधुनिक र समृद्ध समाजवादी राज्य निर्माण गर्ने लक्ष्य लिएको छ । यसलाई सीपीसीले चिनफिङ विचारधाराका रूपमा आधुनिक कालखण्डका अन्तरविरोधहरूलाई संश्लेषण गरी ‘चिनियाँ सपना’ र ‘चिनियाँ सभ्यताको पुनरोदय’को रूपमा अघि सारेको छ । यी उद्देश्यहरू हासिल गर्न चीनले पार्टी निर्माण र असल शासनलाई अन्तरवस्तुका रूपमा आत्मसात गरेको देखिन्छ ।
राष्ट्रपति सीले शासन सम्हाल्नासाथ कानुनी राज र असल शासनको प्रत्याभूति गर्न व्यापक आन्तरिक पुनर्संरचना गरे । उनले अघि बढाएको संसारकै ठूलो भ्रष्टाचार विरोधी अभियानमा खराब आचरण भएका करिब १२ लाख पार्टी उच्च पदाधिकारी र कर्मचारीहरू कारबाहीमा परे । यो अभियान निरन्तर छ । तामझाम, भोजभतेर र चर्को उपहार खर्च देखाउने परिपाटीको सुधार राष्ट्रपति कार्यालयबाट सुरु गरियो । सी व्यारिकेट लगाएर सवारी चलाउनेभन्दा भ्यानमा सामान्य यात्रा गर्न रुचाउँथे । पहिल्यैदेखि आर्थिक अनियमिततामा दाग नलागोस् भन्नेमा सचेत सी उच्च पदाधिकारी भइसक्दा पनि लाइनमा लागेर खाना खाने र आफ्नो बिल आफै तिर्ने गर्थे । चीनमा भ्रष्टाचार काण्डमा कारबाहीमा परी विदेश पलायन भएकाहरूले पनि राष्ट्रपति सीलाई व्यक्तिगत आक्षेप लगाउनसकेका छैनन् । चीनमा स्थायी कमिटीका नेतादेखि महानगरका प्रमुखहरूले समेत भ्रष्टाचारको आरोपमा मृत्युदण्ड भोगेका छन् । अझ यही राष्ट्रिय महाधिवेशनमा त पार्टीभित्र होनहार सम्भावना भएका नेताहरूले पैसाको प्रलोभनमा भोट प्रभावित गर्न खोजेको आरोप बाहिर आएको थियो । अहिले सीले भ्रष्टाचार विरोधी अभियानलाई एउटा अब्बल कम्युनिष्ट पार्टी र राज्य निर्माणको आधारभूत सैद्धान्तिक प्रश्नसँग जोडेर पुनर्जागरणको अभियान बनाएका छन् ।
राष्ट्रपति सीको प्रमुख चासो चिनियाँ परिस्थितिमा शासन सत्ताको विकसित मोडल तयार गर्नु रहेको देखिन्छ । ‘चीनको शासनसत्ता’ भन्ने पुस्तकमा उनका यी विचार अभिव्यक्त भएका छन् । क्रान्तिबाट आएका र सघर्षमा टिकिरहेका कम्युनिस्ट पार्टीले शासन गरेका देशमा पनि भ्रष्टाचारको समस्या नयाँ ढङ्गले देखापर्ने गरेको छ । त्यसले पार्टी र नेताहरूलाई पहिला धमिराजस्तै खाँदै जान्छ र यो राजकीय सबै क्षेत्रमा व्याप्त बन्छ । असल नेतृत्व रहँदासम्म निर्देशनमा परिपाटी चल्छ । खराब नेतृत्व माथि पुग्दा सत्ता नै गर्ल्याम–गुर्लुम्म ढल्न पुग्दछ । पार्टी र नेतृत्वलाई लालफिताशाहीले जनताबाट अलग–थलग गरिसकेको हुन्छ । यसलाई चिर्न कम्युनिस्ट पार्टी र यसको नेतृत्व नै अब्बल र सफा नभई आधुनिक, समृद्ध, सभ्य, सुन्दर बन्ने चिनियाँ पुनरोदयको सपना असम्भव हुनजान्थ्यो । त्यही भएर उनले उन्नाइसौं कांग्रेसमा जोड दिएर भने, ‘कुनै व्यक्ति कानुनभन्दा माथि हुन सक्दैन ।’
सीले खोजिरहेको असल शासनको मोडल चिनियाँ सभ्यतामा धैरै पहिला सफलतापूर्वक प्रयोग भइसकेको विषय थियो । हान राजतन्त्रले प्रयोगमा ल्याएको ‘सुवान सियान रेनिङ’ पद्धति (२०२–९ ई.पू.) भनेकै मेरिटोक्र्यासीमा आधारित व्यवस्था हो । यसले ‘गुणवत्तालाई छान र सक्षमलाई नियुक्ति गर’ भन्छ । परीक्षा र योग्यता पास भएर मात्र कर्मचारी भर्ना गर्ने ‘के जु’ पद्धति पनि चीनको इतिहासमा हजार वर्ष चल्यो । भनसुन र नातागोताका आधारमा नियुक्ति पाउने ‘गुन्सी’ परिपाटी हटाउन देङ सियाओपिङले आफ्नो बेलामा कडा कदम चालेका थिए । यसले एकहदसम्म सक्षम र योग्य कार्यकर्ता पंक्ति निर्माण गर्न मद्दत गर्‍यो र चीन यसलाई उच्च तहमा विकास गर्न खाज्दैछ ।
विश्व कम्युनिस्ट आन्दोलनमा सर्वहारा अधिनायकत्वको पुनरावलोन हुनुपर्ने कुरा चर्चा चलिरहँदा सीले जनताको अधिनायकत्वको औचित्य रहने तर्क गर्छन् । चिनियाँ सार्वभौमसत्ता र भौगोलिक अखण्डताका विषयमा सीका ‘रगत पानीभन्दा बाक्लो हुन्छ’ र चीन टुक्र्याउने गतिविधिहरूप्रति ‘शून्य सहनशीलता’को कुराले बल प्रयोग आवश्यक पर्न सक्छ भन्ने चिनियाँ बुझाइ देखिन्छ । पश्चिमा लेखक र मिडियाहरूले बोसिलाई, सुन झोङकाई लगायतका उच्च पदस्थहरूलाई पार्टीभित्र गरिएको कारबाहीको प्रसंग निरन्तर उठाउने गरेका छन् । सीको नेतृत्वले के देङ र उनको बुबामाथि सांस्कृतिक क्रान्तिताका जस्तै अन्याय यी प्रकरणमा दोहोर्‍याएको हो ? या उपरोक्त पात्रहरू सीपीसीमा देखिएका वाङमिङ र लिनप्यायो अनि रूसी कम्युनिस्ट पार्टीमा देखिएका गोर्भाचोभ र एल्तसिन जस्तै साँच्चिकै चीनलाई दुर्भाग्यतर्फ डोर्‍याउन खोज्ने तत्त्व थिए भन्ने इतिहासले पुष्टि गर्दै जाला । राष्ट्रपति सीले चिनियाँ प्रजातन्त्र ‘कन्सल्ट्याटिभ डेमोक्र्यासी’ हुने र चीनले पश्चिमा प्रजातन्त्रलाई नक्कल नगर्ने तर व्यक्तिको स्वतन्त्रता, मानव अधिकारको रक्षा तथा कानुनको शासनको प्रत्याभूति गर्ने प्रस्ट बोलेका छन् । यसबाट चीन नयाँ खाले प्रजातन्त्रको अभ्यास गर्दैछ भन्ने देखिन्छ ।
देङ सियाओपिङले चीन विदेश नीति र अन्तर्राष्ट्रिय प्रोफाइलमा तल रहने कुरा गरेका थिए । राष्ट्रपति सीले उठाएका कतिपय कदमहरू पूर्ववर्ती विचारभन्दा फरक हो कि भन्ने देखिन्छ । ताओवादमा एउटा सूत्र छ ः सफलता प्राप्त गर्दै जाँदा देशका विरुद्ध आउने सम्भावित संकटपूर्ण परिस्थितिलाई बुद्धिमतापूर्ण र साहसिक ढङ्गले नेतृत्व गर्ने । सीको साहसिक र क्रान्तिकारी कदमहरूमा ताओवादको मान्यता झल्किन्छ । चीनलाई मुक्त पार्ने सन्दर्भमा माओका कदमहरूमा पनि यी मान्यताहरू देखिन्छन् । तर ऐतिहासिक भौतिकवाद र द्वन्द्ववादलाई ठीक ढङ्गले आँकलन नगर्दा उनी सांस्कृतिक क्रान्ति र महान छलाङमा चुके । यसको असफलता अनिवार्य थियो । तर सीले जुन छलाङको नेतृत्व गर्दैछन्, त्यो चीनको आवश्यकता र विश्व परिस्थिति सान्दर्भिक छ । चिनियाँ कम्युनिस्ट पार्टी, यसको विचार, कुशल नेतृत्व, जनताको मिहेनत र एकमना एकताका कारण चीनले यो जादुगरी सफलता हात पारिरहेको छ ।
नेतृत्व निर्माणको प्रश्नमा पनि चिनियाँहरूले सोभियत संघको कमजोरीबाट सिकेका छन् । सोभियत संघमा स्टालिन, खुस्च्रेभ, ब्रेझनेभदेखि गोर्भाचोभसम्म अघिल्लो नेतृत्वलाई खराब भन्दै गयो । लेनिनलाई भने सबैले पुजे । तर चीनमा माओको योगदानलाई उच्च कदर गरी कमजोरीहरूसमेत स्वीकारियो र पछिल्लो हरेक नेतृत्वले अघिल्लो विरासतलाई स्वीकार गर्‍यो । चीनले सीको नेतृत्वलाई माओ र देङजस्तै विशिस्ट रूपमा स्थापित गरिरहँदा जियाङ जमिन र हुजिन्ताओ योगदान र कडीलाई सम्मानपूर्वक निरन्तरता दिएको छ ।
आम बुद्धिजीवीहरू संसारलाई नै प्रभाव पार्ने भीमकाय भूअर्थराजनीतिक रणनीतिक महत्त्वको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’लाई चीनको सबैभन्दा महत्त्वको परियोजना ठान्छन् । तर सीपीसीको १९ औं पार्टी कांग्रेसमा सीले पार्टी निर्माण चीनको महत्त्वपूर्ण परियोजना भएको र आफू मार्क्सवादी सिद्धान्तबाट पछाडि नजाने कुरा गरे । उनले सन् २०४९ सम्म चीनलाई एउटा आधुनिक समाजवादी राज्य निर्माण गर्ने घोषणा गरे र त्यो निर्माण प्रक्रिया शान्तिपूर्ण हुन्छ भने । उनले चीन अझ बढी खुल्ला हुने र सबैसँग सहकार्य गर्ने घोषणा गरे । जमिनमा लामो लिज स्वामित्व, लगानी र सम्पत्ति अधिकारको रक्षा हुने कुरा गरे । यो कम्युनिस्ट सिद्धान्तसँग विरोधाभाषजस्तो पनि लाग्छ, तर उनले चिनियाँ र विश्व परिस्थितिको द्वन्द्वात्मक आँकलन गरेका छन् । सोभियत संघ पतन भएपश्चात् ‘द इन्ड अफ हिस्ट्री’ लेख्ने फुकुयामा लगायतका विद्वानहरूले चिनियाँ ‘बेल्ट एन्ड रोड’ले पश्चिमा प्रजातन्त्रको सान्दर्भिकता सकिने लेखिरहँदा सीले कम्युष्टि सिद्धान्तमा आधारित पार्टी निर्माणमार्फत असल शासन, पर्या–सभ्यता, बीआरआई, चिनियाँ सपना र पुनरोदयको कुरा गर्नु निकै अर्थपूर्ण छ । पार्टी खोक्रो बन्दा मिसाइल र भारी न्युक्लिएर हतियारले सोभियत संघ बचाउन सकेन । चीनको समाजवाद पनि न त मिसाइल र ट्याङ्कले बचाउन सक्छ, नत बेल्ट एन्ड रोडले । वास्तवमा एउटा उम्दो र जीवन्त मार्क्सवादी पार्टीका मानिसहरू, यसका असल नीति र कार्यक्रमहरूले दीक्षित जनताले मात्रै समाजवाद बचाउन सक्छन् ।

योगेन्द्र शाही

विविधा

राज्यको उपेक्षामा संग्रहालय

- डा. प्रेमसिंह बस्न्यात

सभ्यताबाट संस्कार जन्मन्छ । संस्कारलाई जीवन्त राख्न कला, सम्पदा, इतिहास, संस्कृति आदिले सात घोडे बग्गीले काम गरेझैं देश–विदेशमा संस्कारलाई फैलाउँछ । हिजोको दिनसम्मका घटना, विकास, विनाश, मिलाप, भाषा, संस्कृति लगायतका बारेमा अक्षर, चित्र, सामान र आवाजबाट समेतले शिक्षा दिने ठाउँ संग्रहालय हो । नयाँ परिभाषामा संग्रहालयले आजका दिनमा समेत भैरहेको उद्योग, बस्ती, खेती, मन्दिर, गुम्बा, चर्च, मस्जिद, पर्व, नाचगान, किरियापुत्री घर, दाहसंस्कार स्थल, भाँडा बनाउने, लुगा सिलाउने स्थल, भेँडा–भैँसी, गाई पालेको स्थल आदिसमेत समेट्छ । अचेल गाडी र रेलमा लगेर टाढा–टाढा पनि चलायमान संग्रहालयहरू प्रदर्शनी गर्ने काम सुरु भएका छन् ।

नेपालमा संग्रहालय
काठमाडौंमा पहिला सिलखाना संग्रहालय थियो । त्यसलाई पछि नेपाल संग्रहालय नामकरण गरियो । आधिकारिक रूपले काठमाडौं छाउनीमा जुद्धशमशेर राणा प्रधानमन्त्री हुँदा सरकारी लगानीमा नेपालमा पहिलो संग्रहालय स्थापना भएको मानिन्छ । पछि त्यसलाई विस्तार गरेर राष्ट्रिय संग्रहालय नाम दिइयो । जुद्धशमशेरले बनाएको एउटा भवन बाहेकको ठूलो दरबार र संरचनाहरू प्रधानसेनापति भीमसेन थापाले बनाएका थिए । उनले युरोपेली पाराको सेना, जंगी पोसाक, हातहतियार, फौजी संगठन र व्यारेक निर्माण गरेर जंगी अड्डा अर्थात आर्मी हेडक्वार्टर पनि बनाए । त्यही भवनमा अहिले हातहतियारसहित सैनिक महत्त्वका सामान प्रदर्शनीमा छन् । नेपाली सेनाको विधिवत रूपले बनाएको पहिलो जंगी अड्डा हो त्यो । ब्यारेक बसाइएको स्थानलाई छाउनी भनियो । त्यसको अलि पर स्वयंभूमा बारुदखाना र अलि पर बालाजुमा पानीबाट चल्ने बन्दुक बनाउने कारखाना र भक्तपुरको ठिमीमा तोपका गोला, बन्दुकका गोली, बारुद लगायत भण्डारण गर्ने ‘गठ्ठाघर’ स्थापना गरियो । आगोलागी, चट्याङ आदिबाट गठ्ठाघर विस्फोटन भएमा जनधनको ठूलो क्षति हुने भएकोले सुनसान ठाउँ ठिमीमा गठ्ठाघर बनाइयो । गठ्ठाघर भन्दा करिब १ कोस पूर्व गोली गठ्ठा बनाउने कारखाना पनि रहेकोले त्यसकै नजिक गठ्ठाघर खडा गरिएको हुनसक्छ । युरोपेली पाराको फौज, ब्यारेक, पोसाक, हतियार, गठ्ठाघर, हतियार र गठ्ठा बनाउने कारखाना व्यवस्थापनमा फ्रान्सेली सहयोग थियो । तसर्थ हाल काठमाडौंको छाउनीमा रहेका राष्ट्रिय संग्रहालयको ठूलो भवनसँंग धेरै पक्ष जेलिएका छन् । राष्ट्रिय संग्रहालयपछि सरकारी लगानीमै भक्तपुर, हनुमानढोका, नारायणहिटी, गणतान्त्रिक, गोर्खा, सुर्खेत लगायतका नगन्य स्थानमा खडा हुँदै गए । पुरातत्त्व विभागलाई संग्रहालयको रेखदेख र व्यवस्थापन गर्ने जिम्मा दिइयो । जुन अद्यापि छ ।
धेरै वर्षपछि आएर नेपालमा निजी, सामुदायिक, व्यक्तिगत र अर्ध–राज्यनियन्त्रित संग्रहालयहरू स्थापना हुनथाले । यी पनि नगन्य मात्रामै छन् । अष्ट्रिया सरकारको राम्रै सहयोग पाएको ‘पाटन म्युजियम’ले देशको राम्रो इज्जत राखेको छ । नेपाल गणतन्त्रात्मक राजनीतिमा गएपछि राजनीतिक नेता/नेतृ, विभिन्न जात–जातिको नाममा संग्रहालय खोल्ने क्रम सुरु भएको छ । कतिपय यस्ता संग्रहालय बोर्डमा नाममात्र झुन्डाएर मागीखाने भांँडोमात्र बनेका देखिन्छन् । त्यसमा पनि राज्यले प्रमाणित नगरेका र प्राज्ञिक क्षेत्रबाट पुष्टि नभएका विवरण र सामानहरू राखिएका छन् ।
नेपालका हरेक सरकारले आकाश–पाताल जोड्ने योजनाका घोषणा गर्दासमेत संग्रहालय बारे कहीं कतै केही सुनिन्न । राष्ट्रिय योजना आयोग भनेको आम बुझाइमा विद्वानहरूको थलो हो, त्यहाँबाट समेत नेपालमा संग्रहालय स्थापना, विकास र विस्तारमा केही पहल भएको थाहा छैन ।
नमिलेको व्यवस्थापन
श्री ३ जुद्धशमशेर राणादेखि आजको दिनसम्मको संग्रहालय इतिहासमा राज्यले उपेक्षा गरेको पाटो संग्रहालय व्यवस्थापन हो । संस्कृति मन्त्रालयले संग्रहालयलाई पुरातत्त्व विभाग अन्तर्गत राखेको छ । त्यसबखतका लागि यो व्यवस्था ठीक थियो । तर ५० औं वर्षसम्म पनि यसमा कसैले पुनरावलोकन गरेन । संग्रहालयलाई कमाण्ड गर्ने पक्ष पुरातत्त्वको होइन । अर्थात ‘आर्कियोलोजी’ र ‘म्युजियमोलोजी’ फरक विधा हुन् । वास्तवमा संग्रहालय व्यवस्थापनमा ‘आर्कियोलोजी’ लाई म्युजियमोलोजीभित्र राखेर प्रदर्शन गरिन्छ । उत्खनन गरेका वस्तु, इतिहास, संस्कार, संस्कृति आदि संग्रहालयमा रहन्छन् । अर्कोतर्फ पुरातत्त्वका कर्मचारीलाई म्युजियम क्युरेटर, व्यवस्थापक, प्रशासक बनाई पठाइन्छ । त्यो विलकुल प्राज्ञिक र पेसागत काम होइन । अनि पुरातत्त्व विभाग जहिले पनि ठूला बजेट लिएर ऐतिहासिक–पुरातात्त्विक उत्खनन भनेर परियोजना बनाएर काम गर्छ । तर संग्रहालयतर्फ छड्के आँखासमेत लगाउँदैन । महत्त्वपूर्ण पक्ष, पुरातत्त्वको ज्ञानमात्र हुनेले संग्रहालय व्यवस्थापन गर्न सक्दैन । जसको लागि म्युजियमोलोजी पढ्नैपर्छ र संग्रहालय सम्बन्धी धेरै तालिम लिनुपर्छ । यस लेखक आफू सैनिक संग्रहालयको पहिलो संस्थापक क्युरेटर हुँदा भोगेका अनुभवमा खट्केका कुरा हुन् यी । तसर्थ संग्रहालयको विकास र विस्तारमा भन्दा जागिर खाने र पेन्सन पकाउने संस्कारले सरकारी संग्रहालयहरूको स्थिति जहींको तहीं छ । यसको लागि नेपाल सरकारले पुरातत्त्व विभाग समानान्तरको छुट्टै संग्रहालय व्यवस्थापन निर्देशनालय’ खडा गरी, लोकसेवा आयोगमार्फत संग्रहालय सम्बन्धी पढेका र तालिम प्राप्त गरेकोलाई प्राविधिक सेवाको रूपमा छुट्टै संरचना गर्न ढिला भैसकेको छ । अर्को पक्ष, पहिलो एक दशक जतिका लागि स्वदेश तथा विदेशबाट संग्रहालय सम्बन्धी विज्ञ प्राज्ञिक र पेसागत व्यक्तिलाई करार सेवामा नियुक्ति गर्न पनि सकिन्छ । अर्कोतिर संस्कृति मन्त्रालयको संग्रहालय हेर्ने शाखा–उपशाखाहरूले संग्रहालयको विकासमा काम गरेको देखिँदैन ।
अर्को संगीन पक्ष भनेको संग्रहालय सम्बन्धित नियम–कानुन नहुनु हो । पुरातत्त्व विभाग र त्यहाँको नेतृत्वले पनि पुरातत्त्व र उत्खनन सम्बन्धी नियम–कानुन बनाए, तर संग्रहालय सम्बन्धी नियम–कानुन बनाएनन् । पुरातत्त्व विभागको नियम–कानुनले संग्रहालय चल्दैन । पंक्तिकारको अनुभवमा नियम–कानुन विना संग्रहालय चलाउने देश सायद नेपालमात्र होला । संग्रहालयको विश्व छाता संगठन इन्टरनेसनल काउन्सिल अफ म्युजियम (आइकम) ले यसबारे नेपालका संग्रहालयमा काम गर्ने र नेपाल आइकम (गैसस) लाई पटक–पटक सोधेको छ । युनेस्को र छिमेकी देशमा रहेका संग्रहालय सम्बन्धी नियम–कानुनलाई समेत अध्ययन गरेर नेपालको मौलिक नियम–कानुन बनाउनुपर्ने खाँचो टड्कारो छ ।
अर्को सवाल, हाल खुलिरहेका सरकारी, अर्धसरकारी, निजी, व्यक्तिगत संग्रहालयमा राखिएका र प्रदर्शित सामानहरूको आधिकारिकता जाँच्ने को हो ? तिनका नैतिक बन्धन के हुन् ? ती संस्थाहरूले स्वदेश तथा विदेशबाट सिधै लिइरहेका आर्थिक तथा अन्य स्रोतलाई नियमन गर्ने संस्था के छ ? त्यसैगरी राजनीतिक नेता–नेतृत्वको नाममा खोलिएका संग्रहालयको नियमन गर्ने निकाय कुन हो ? संग्रहालय भनेको आफै बोल्ने विद्यालय हो । यस्तो संस्थामा बेथिति भयो भने देशकै बेइज्जती हुनेछ । उल्लेख गर्नैपर्ने अर्को पक्ष हो— सैनिक हातहतियार, पोसाक, गोलीगठ्ठा, इतिहासलाई गैरसैनिक संग्रहालयमा प्रदर्शन गरिनु हो । संग्रहालयमा प्रदर्शित अक्षरदेखि वाक्यसम्म र सियोदेखि घ्याम्पोसम्मका बारेमा बताउन सक्नुपर्छ । हाल राष्ट्रिय संग्रहालय छाउनी काठमाडौंको अवस्था यही छ । त्यहाँका सैनिक तोप, हतियार, गोलीगठ्ठा, पोसाकका बारेमा कोही बताउन सक्तैन । नाम मात्र होइन, तिनको विशेषता पनि बताउनुपर्छ । अनि प्रदर्शनीमा राखिएका राइफल–हतियारहरू अहिले पनि प्रयोग गर्न मिल्छ । सुरक्षाको हिसाबले पनि सैनिक संग्रहालयमा मात्र त्यस्ता हतियार गोलीगठ्ठा राखिनुपर्छ । यही कारणले गर्दा राष्ट्रिय संग्रहालयले हाल ठूलो संस्थामा सैनिक पालोपहरा राखेको छ ।


गर्न सकिने
अर्को महत्त्वपूर्ण सवाल नारायणहिटी राजदरबार संग्रहालय व्यवस्थापनको हो । यसको उचित व्यवस्थापन गर्ने हो भने हरेक ५ वर्षको यसको आम्दानीले दुर्गम स्थानमा अरु ठूला ५ वटा संग्रहालय बनाउन सकिन्छ । राजा द्रव्यशाहका सन्तानले नेपालको एकीकरण गरेकाले यस संग्रहालयमा वि.सं. १८०१ भन्दा अगाडिको खण्डित नेपाल भित्रका बाइसे–चौबिसे राज्यहरू र उसबखतको ग्रेटर नेपाल समेतका प्रतिविम्ब आउनुपर्छ । यो संग्रहालयलाई फ्रान्सको भर्सेलिज दरबार र बेलायतको बकिङघम दरबारलाई जस्तै पर्यटकीय केन्द्र बनाउन सकिन्छ । यस क्षेत्रमै ‘इमोसनल डिसिजन’ गरेर डा. बाबुराम भट्टराईको सरकारले नागपोखरी पाटोमा ‘गणतान्त्रिक संग्रहालय’ बनाउने निर्णय गरेर हाल उद्घाटन पनि भैसक्यो । यो संस्कृति, कला र संग्रहालयको महत्त्व नबुझी गरेको गलत निर्णय थियो । गणतान्त्रिक संग्रहालयलाई अर्कै स्थानमा बनाउँदा असाध्यै राम्रो हुने थियो ।

गरिहाल्नु पर्ने
नेपालका संग्रहालयबाट धेरै राम्रा काम पनि भएका छन् । नेपालका प्रायःजसो राजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिवदेखि तलसम्मका कर्मचारी र नागरिक समाजले समेत अन्य देशको संग्रहालय घुमेकै छन् । संग्रहालयको महत्त्व बुझेकै छन् । तसर्थ संस्कृति मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा पुरातत्त्व विभागसमेत मिलेर नेपालमा संग्रहालय व्यवस्थापन र विकासमा के–के गर्नुपर्छ भन्ने बारेमा छलफल गरेर नियम–कानुन बनाइहालौं । सरकारी, अर्धसरकारी, निजी र व्यक्तिगत संग्रहालयको परिभाषा लेखी तिनलाई नियमन गरौं । अनि हरेक गाउँपालिका, नगरपालिकाले संग्रहालय बनाउने नीति बनाऊँ । संग्रहालयलाई
बुझ्नसकेमा हाम्रो घर, सहर, बजार, गाउँ, खेती, बगैंचा, मन्दिर, मस्जिद, गुम्बा लगायतमा समेत संग्रहालय भेटिनेछ ।
लेखक नेपाल म्युजियम एसोसियसनका अध्यक्ष हुन् ।

Page 8
विविधा

हाड मक्किने समस्या बढ्दो

वृद्ध अवस्थाका पुरुष तथा महिनावारी सुकेका सहरिया महिलाहरु बढी पीडित रहेका अध्ययनले देखाएको छ
- अतुल मिश्र

विशेषज्ञका अनुसार मुलुकमा हाड मक्किने समस्या ‘अस्टियोपोरोसिस’ बढ्दो छ । यस रोग बूढापाका र अझ खासगरी महिलाहरूमा हाड भाँच्चिने समस्याकै रूपमा देखा परिरहेको छ ।
बदलिँदो समयमा हाम्रो खानपान, जीवशैली, शारीरिक सक्रियता, घाममा बस्ने समयावधिमा आइरहेको परिवर्तनको परिणाम नै विभिन्न शारीरिकसँगै हाडको स्वास्थ्यमा समेत समस्या परिरहेको छ । महिलाहरूमा रजोनिवृत्तिपछि अस्टियोपोरोसिस हुने थप जोखिम बढी भए पनि मुलुकमा पुरुषहरूसमेत यस समस्याले ग्रस्त छन् । ‘हाड मक्किने समस्या महिलामा बढी देखिए पनि पुरुषहरूलाई समेत छ । बाजेहरू ढाड कुप्रो भएर जचाउन आउने गरेका छन्,’ हाड रोग विशेषज्ञ डा. शैलज रञ्जितकार भन्छन्, ‘बूढापाकाका नितम्ब (हिप) लगायतका हाड भाँच्चिनुको मुख्य कारण अस्टियोपोरोसिस नै हुने गरेको छ ।’
हाड जीवित तन्तु हो । हाम्रो सम्पूर्ण जीवन अवधिमा पुरानो हाडको ठाउँमा नयाँ हाड आइरहेको हुन्छ । युवावस्थामा हाड बलियो भए पनि करिब ३५ वर्षपछि हाड जति कमजोर हुन्छ त्यति नयाँ हाड बन्दैन र विस्तारै अस्टियोपोरोसिसले आफ्नो फन्दामा पार्दै लैजान्छ । यो रोग लाग्दा हाडको बाहिरी सतह पूर्ण स्वस्थ जस्तो देखिए पनि हाडको भित्री भाग भित्रभित्रै खोक्रो भइसकेको हुन्छ । यो समस्याले हामीलाई मात्र गाँजेको छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अस्टियोपोरोसिस विश्वव्यापी समस्याको रूपमा मुटु रोगपछि दोस्रो स्थानमा छ ।
डब्लूएचओको एउटा अनुसन्धान अध्ययनअनुसार, विश्वभर हरेक तीनमध्ये एक महिला र आठमध्ये एक जना पुरुष अस्टियोपोरोसिसले पीडित छन् । नेपाल, भारतजस्ता मुलुकमा महिनावारी सुकेका ६० देखि ७० प्रतिशत महिलाहरूमा अस्टियोपोरोसिसको समस्या रहेको चेन्नई, भारतका इन्स्टिच्युट फर स्पेसल अर्थोपेडिक्सका निर्देशक एवं वरिष्ठ हाड रोग विशेषज्ञ डा. एल प्रकाश बताउँछन् ।
रजोनिवृत्तिपछि हाडको सघनतामा कमी आउँदा यसले मेरुदण्ड, नितम्ब, नाडी भाँच्चिएर महिलालाई अक्षम बनाउने जोखिम बढ्छ । खराब जीवनशैली, व्यायाममा कमी, घामको प्रकाशसँग न्यून सम्पर्क, प्रोसेस्ड खाद्य पदार्थको उपयोग, आहारमा सलाद, हरियो तरकारी, फलफूलको कमी, उचित रूपमा प्रोटिनको सेवन नगर्नाले अस्टियोपोरोसिसको समस्या झन् बढ्छ ।
अस्टियोपोरोसिसबाट बच्न र यसको उपचार दुवैका लागि व्यायाम अत्यन्त आवश्यक मानिन्छ । हाडको जुन ठाउँमा बारम्बार दवाव र तनाव पर्छ त्यो क्षेत्रमा क्याल्सियम र मिनरल बढी निर्माण हुन्छ, जसले हाडलाई बलियो वनाउँछ । यसैले तौल सहन सक्ने व्यायाम, घुम्नु, दौडनु, भर्‍याङ चढ्नु आदि कार्यले हाडलाई क्षति हुनबाट जोगाउँछ ।
अध्ययनहरूमा के पाइएको छ भने, व्यायाम गर्नाले मांसपेसी तन्कने भई हाडको घनत्व बढ्छ । त्यसैगरी, दिनहुँ आधा घन्टाका लागि तौल उठाउने व्यायामसहित मध्यम गतिको शारीरिक व्यायाम स्वास्थ्यका लागि फायदाकारी हुन्छ । डा. एल प्रकाशका अनुसार, भारतीय उपमहाद्वीपमा ‘अस्टियोपोरोसिस’ बढ्नुको कारण आनुवांशिक (जेनेटिक) र जीवनशैली परिवर्तन हुनु हो । उनका अनुसार, अस्टियोपोरोसिबाट बच्न मुख्य रूपमा महिनावारी सुकेका महिलासँगै पुरुषहरूले समेत दिनहुँ औषधि खानुको सट्टा एक घन्टा घामको प्रकाशमा बिताउने, योगलगायतका व्यायाम गर्दै सक्रिय जीवन बिताउने, फलफूल, गेडागुडी, उच्च क्याल्सियम भएको खाद्य पदार्थ, प्रोटिन भएको आहार खानुपर्छ ।
सामान्यतः यसको लक्षण स्पष्ट हुँदैन । तर शरीरमा निरन्तर थकाइ, हात खुट्टामा दुखाइ, कम्मर दुखाइ, स–सानो चोटपटकमा हाड भाँच्चिनु, काम गर्ने इच्छा नहुनु, कुप्रिनु, हातले समात्ने क्षमतामा कमीजस्ता लक्षण देखिए तुरुन्त चिकित्सकीय सल्लाह लिनुपर्छ ।
यदि तपाईंलाइ पिठ्युँ जोर्नीको हाड दुखाइजस्तो समस्या देखिए हाडजोर्नी विशेषज्ञसँग जचाउनुपर्छ । यस्तो स्थितिमा बीएमडी, डेक्सा, भिटामिन डी –३ को स्तरसमेत जचाउनु फाइदाजनक हुन्छ । ‘आवश्यक पर्दा विशेषज्ञसँग उपचार गराउनुपर्छ । यसका लागि केही आधुनिक औषधि छ,’ उनी भन्छन् ।
महिनावारी सुकेको ५ देखि ७ वर्षमा महिलाहरूको हाडको घनत्वमा २० प्रतिशत कमी आउने औंल्याउँदै डा. रञ्जितकार पहिलो केही वर्षसम्म महिलाहरूमा औसत हाडको क्षति तीन प्रतिशत र त्यसपछि बर्सेनि एक प्रतिशतसम्म देखिने बताउँछन् ।
मुलुकमा अस्टियोपोरोसिसका रोगीको कुनै आधिकारिक तथ्यांक नरहेको औंल्याउँदै नेपाल प्रहरी अस्पतालका हाड रोग विशेषज्ञ डा. गोपेश ठाकुर भन्छन्, ‘पुरुषमा ५० वर्षको उमेरमा ८ देखि १० प्रतिशतलाई यो समस्या हुन सक्छ भने यही उमेरका ३० प्रतिसत महिलासम्ममा यो समस्या देखिने सम्भावना बढी हुन्छ ।’ ठाकुर महिनावारी सुकेपछि महिला र ५० वर्ष नाघेपछि पुरुषले एकपटक आफ्नो हाडको सघनताको परीक्षण गराउनुपर्नेमा जोड दिन्छन् ।
भारत, चन्डीगढस्थित पोस्ट ग्र्याजुएट इन्स्टिच्युट (पीजीआई), एन्डोक्राइनोलोजी विभागको एउटा अनुसन्धान अनुसार, अस्टियोपोरोसिस भएपछि बिरामीको मृत्युदर धेरै बढ्छ । यस अध्ययनमा दुई सय ६४ अस्टियोपोरोसिसका बिरामीलाई संलग्न गरिएको थियो । यसमा के देखियो भने ठूला अस्पतालमा आउने अस्टियोपोरोसिसका करिब ८० प्रतिशत बिरामीमा नितम्बको हाड भाँच्चिएको थियो । हाड भाँच्चिएको एक वर्षभित्र यी सबै बिरामीमध्ये २० प्रतिशत रोगीको मृत्यु भएको थियो भने ६० प्रतिशत बिरामी जीवनभरका लागि परनिर्भर भएका थिए ।
अध्ययनअनुसार, अस्टियोपोरोसिसका ८० प्रतिशत बिरामीको नितम्बको हड्डी भाँच्चिएको थियो भने सबैको घरभित्रै हाड भाँच्चिएको थियो । यस्तै, सबैजसोको हाड भाँच्चिने घटना रातिको समय बाथरुम जाने क्रममा भएको थियो । विज्ञका अनुसार, रजोनिवृत्तिले गर्दा महिलाहरूमा ‘एस्ट्रोजन’, हार्मोनको स्तरमा कमी आउँछ जसले गर्दा हाड कमजोर हुन थाल्छ । यही हार्मोनले महिलालाई मुटु रोगको समस्याबाट समेत बचाउँछ । पुरुषमा समेत एन्ड्रोजन हार्मोनको कमीले यो रोग हुन सक्छ ।
‘नेपाली महिलाहरूमा हाड कमजोर हुने समस्या धेरै देखिनुको कारण उनीहरू घरपरिवारको जिम्मेवारीसँगै आफ्नो खानपान र स्वास्थ्यको स्याहार नगर्नु हो,’ मेनोपोज सोसाइटी अफ नेपालकी अध्यक्ष एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. अचला वैद्य भन्छिन् । महिनावारी सुकेकी महिलाको हाडको स्वास्थ्य राम्रो राख्नु एउटा चुनौती जस्तै रहेको औंल्याउँदै उनी भन्छिन्, ‘हाडको स्वास्थ्यमा ध्यान नदिने भएकोले ६० वर्षपछि महिलाहरूलाई बढी हाड भाँच्चिने समस्या देखिने गरेको छ ।’ तर हाड मक्किने समस्या महिनावारी सुकेका ग्रामीण महिलाको दाँजोमा सहरिया महिलाहरूमा बढी देखिएको छ ।
‘ग्रामीण महिला घाममा बस्छन्, शारीरिक सक्रियता बढी हुन्छ । काम बढी गर्छन् । स्वस्थकर खानपान बढी भएकाले उनीहरूमा हाड मक्किने समस्या सहरिया महिलाको दाँजोमा कम देखिएको छ,’ डा. वैद्य भन्छिन् । उनका अनुसार, महिलाहरूले महिनावारी सुक्नुभन्दा अगावै आफ्नो हाडको स्वास्थ्यबारे चिकित्सकीय सल्लाह लिनु र हाडलाई बलियो बनाउने खानपान, जीवनशैली अपनाउनु फाइदाजनक हुन्छ ।
हाड मक्किने समस्याबाट जोगाउन च्याउ, मासु, ब्रोकाउली, दूध र दूधजन्य उत्पादनलगायतका हाडलाई बलियो बनाउने क्याल्सियम र प्रोटिनयुक्त खाद्य पदार्थ सेवन गर्नुपर्छ । अत्यधिक मदिरा सेवन र धूमपानले समेत हाडलाई कमजोर बनाउँछ । विज्ञका अनुसार, मेडिटेरेनियन मुलुकको आहार हाडलाई बलियो बनाउन उपयुक्त मानिन्छ । यसअन्तर्गत फल, सागसब्जी, अन्न, आलु, जैतुनको तेल, माछा, कम मात्रामा सन्तृप्त बोसो, दुग्ध उत्पादन र रातो मासु आदि पर्छन् । यो खानाले मांसपेसी र हाड बलियो बनाउन प्रभावकारी मानिन्छ । यस्ता आहारले अस्टियोस्पोरोसिसको जोखिम कम गर्नुको साथै हार्मोनको सन्तुलन कायम राख्नसमेत सघाउँछ ।


सनस्क्रिन हानिकारक
चर्को घामबाट छालालाई कालो हुनबााट जोगाउन भन्दै धेरैजसो महिला र अचेल त पुरुषहरूसमेत दिनहुँ सनस्क्रिन लोसन लगाउने गर्छन् । तर सनस्क्रिन लोसनले गर्दा हाम्रो हाडको स्वास्थ्य नराम्ररी प्रभावित भइरहेको हुन्छ । अस्टियोपोरोसिस भएका महिला वा पुरुषले सनस्क्रिन लोसन लगाउनु हुँदैन । उसो त हाडको स्वास्थ्यका लागि जो सुकैले पनि सनस्क्रिन लगाउनु राम्रो मानिँदैन । ‘यसको उपयोग कहिले पनि गर्नु हुँदैन,’ डा. एल प्रकाशका अनुसार, सन स्क्रिन लोसन लगाउँदा घामको प्रकाशबाट प्राप्त हुने भिटामिन डीमध्ये करिब ९५ प्रतिशत शरीरले पाउनबाट रोकिन्छ । घामबाट जोगिन उनले छाताको उपयोग, सुतीको ओढ्नेले अनुहार छोप्नु, प्रशस्त तरल पदार्थको सेवन लगायतका सनस्क्रिनबाहेकको वैकल्पिक उपाय अपनाउने सल्लाह दिन्छन् ।
एक स्वस्थ व्यक्तिलाई दिनहुँ करिब दुई हजार युनिट भिटामिन ‘डी’ आवश्यक हुन्छ । यो मात्रा दिनहुँ केही समय घाममा बस्नाले र दुग्ध उत्पादन, फलफूल, सागसब्जी खाँदा पूरा हुन्छ । सनस्क्रिन लगाएर घाममा निस्किनाले यसले घामसँगै भिटामिन ‘डी’ लाई समेत शरीरभित्र छिर्नबाट रोक्छ । भिटामिन ‘डी’ को कमीले मुटुको समस्या, छातीको संक्रमण, मधुमेहको खतरा बढ्छ । यसले शरीरमा मेटाबोलिक प्रणाली प्रभावित भई पछि अस्टियोपोरोसिस हुनुको कारणसमेत बन्छ ।


परीक्षण
डेक्सा (डीईएक्सए) स्क्यान– ‘डुवेल इनर्जी एक्स–रे अब्सार्पटिओमेट्री’ विशेष प्रकारको एक्स–रे हो । यो एक्स–रेको माध्यमले हाडको घनत्वलाई नापिन्छ ।
अल्ट्रासाउन्ड– अल्ट्रासाउन्डले सामान्यतः खुट्टाको कुर्कुच्चाको जाँच गरिन्छ । तर यसले अस्टियोपोरोसिसको प्रारम्भिक लक्षण थाहा पाउन सकिन्छ ।
क्वान्टिटेटिभ कम्प्युटेड टोमोग्राफी– यो चिकित्सा प्रविधिअन्तर्गत सामान्य एक्स–रे कम्प्युटेड टोमोग्राफी (सीटी) स्क्यानरको उपयोग गरेर हाडको घनत्व नापिन्छ ।
हाड जीवित तन्तुको कठोर द्रव्यमान हो । यसले हाम्रो शरीरलाई टिकाएर सुरक्षित राख्नुको साथै आन्तरिक अंगलाई चोटपटक आदिबाट जोगाउँछ । हाडले गर्दा नै हाम्रो शरीरले आकार पाउँछ । यदि हाम्रो संरचना बिनाहाड कुनै जोर्नीले हुँदो हो त हामी एउटा ढुंगाजस्तै भएर कुनै गतिविधि गर्न सक्ने थिएनौं ।
वयस्कमा हाडको नवीकरणको एउटा निरन्तर प्रक्रिया चलिरहन्छ । जसमा हाडको सानो मात्रा टुट्छ (बोन रिजोर्पसन) र नयाँ हाडद्वारा प्रतिस्थापित हुन्छ । हाडभित्र बोनम्यारोले रक्तकोषहरू निर्माण गर्छ ।
हाम्रो शरीरका लागि हाड खनिजको एउटा आवश्यक भण्डार हो । हाडमा ९९ प्रतिशत क्याल्सियम हुन्छ र आवश्यकताअनुसार रगतमा घुलेर अंगहरूसम्म पुग्छ । क्याल्सियम फोस्फेट र क्याल्सियम कार्बोनेट, फ्लोराइड र क्लोराइडजस्ता खनिजलाई निरन्तर शरीरको अन्य भागबाट हाडमा स्थानान्तरित गरिन्छ र हार्मोन, विशेष हाडको कोष, तौल थेग्ने गतिविधिको प्रभावमा पुनः फर्काइन्छ । हाम्रो शरीरमा २ सय ६ वटा हाड हुन्छन् । हाम्रो हाडमा भएको खनिजको मात्रा यसको कडापनका लागि धेरै हदसम्म जिम्मेवार हुन्छ ।

कारण
- शरीरमा न्यून बडी मास इन्डेक्स (बीएमआई) हुनु
- लामो समयसम्म उच्च मात्रामा ‘कोर्टिकोस्टेरायड’ उपयोग गर्नु
- बढी मात्रामा मदिरा सेवन वा धूमपान
- अस्टियोपोरोसिसको पारिवारिक इतिहास
- सुन्निनु, हार्मोनसँग सम्बन्धित परिस्थिति
- मदिरा र धूमपानको अधिक प्रयोग

विविधा

‘मदिरा सेवन नगरे पनि कलेजोमा बोसो जम्न सक्छ’

डा.राहुल पाठक
ग्यास्ट्रोइन्टरोलोजिस्ट
(त्रिवि शिक्षण अस्पताल)

 

डाक्टर साहेब म मदिरा सेवन गर्दिनँ । अनि मलाई कलेजोमा बोसो जम्ने समस्या (फ्याटी लिभर)
कसरी हुन्छ र ?
जटिल अवस्थामा उपचारको लागि आउने धेरैजसो बिरामीले सोध्ने प्रश्न हो यो । उहाँहरू आफू मदिरा सेवन नगर्ने भएकाले कलेजोमा कुनै किसिमको समस्या नहुनेमा अलि बढी नै विश्वस्त देखिनुहुन्छ । यसमा मदिरा सेवन नगर्ने व्यक्तिमा कलेजोको समस्या नहुने सामाजिक विश्वासले समेत भरथेग गरिरहेको छ ।
हाम्रो जीवनशैलीमा आएका थुप्रै परिवर्तनले गर्दा मोटोपन र मधुमेहको समस्या सामान्य भएको छ ।
जसले गर्दा ‘नन अल्कोहलिक फ्याटी लिभिर’ अर्थात् गैरमदिराजन्यको कलेजोमा बोसो जम्ने रोगको समस्या उत्पन्न हुन्छ । कलेजोमा बोसो जम्ने समस्या अत्यधिक मदिरा सेवन नगर्ने व्यक्तिमा देखियो भने उक्त समस्यालार्ई ‘नन अल्कोहलिक फ्याटी लिभिर’ भनिन्छ ।
यो समस्या अत्यधिक मदिरा सेवन नगर्ने वा अत्यन्त कम मात्रामा मदिरा सेवन गर्ने व्यक्तिमा हुन सक्छ । यसको विस्तार पनि समयमा उपचार नगरेर मदिराले कलेजो बिगारेजस्तै हुन्छ ।
शरीरमा बढी बोसो उत्पादन हुने वा आवश्यक मात्रामा खपत गर्न नसक्ने व्यक्तिको कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । यस्तो स्थितिमा अतिरिक्त बोसो कलेजोका कोषिकामा जम्मा हुन्छन् । त्यो विस्तारै कलेजोको सिरोसिसमा परिणत हुन्छ । यसको जटिलता पनि उस्तै हुन्छ । एकपटक सिरोसिस भएपछि कुनै प्रभावकारी उपचार सम्भव छैन । यसैले सिरोसिस सुरु हुनुभन्दा अघि नै फ्याटी लिभरको पहिचान र उपचार गर्नु महत्त्वपूर्ण छ । नन अल्कोहलिक स्टटोहेपाटाइटिस कलेजोको सुन्नाइ र कलेजोमा बोसो जम्नाले हुने क्षति हो । यो कलेजो रोग हो । पश्चिमा जगत्मा कलेजो प्रत्यारोपण गर्ने एउटा प्रमुख कारण गैरमदिराजन्य कलेजोमा बोसो जम्ने रोग हो । कलेजोमा बोसो जम्ने रोगको समयमै जाँच र उपचार नभए विस्तारै कलेजो कडा हुँदै जान्छ । अझ लामो समयसम्म यसको रोकथाम भएन भने यो ‘सिरोसिस’ र कलेजोको क्यान्सरमा परिणत हुने सम्भावनासमेत हुन्छ ।
निरन्तर बोसो जम्दा कलेजोको आकारसमेत ठूलो हुँदै जान्छ । यसको कोषिकाहरूमा कडापनसमेत बढ्दै जान्छ । हाल विश्वभरि नै यो रोगको प्रकोप बढ्दै गएको छ । आरामदायी जीवनशैली, पश्चिमा शैलीको खानपानले गर्दा यो रोगले महामारीको रूप लिन सक्ने आंकलनसमेत गरिँदै छ ।
जंकफुड, अत्यधिक बोसोयुक्त खाना, मासु, सोडा, कोल्ड ड्रिंक र मदिरा सेवन गर्नेहरूमा कलेजोमा बोसो जम्ने समस्या बढी देखिन्छ । हालको बढ्दो सहरीकरणले गर्दा हाम्रो जीवनशैलीमा धेरै परिवर्तन आएको छ । खानपिनले गर्दा धेरैजसो व्यक्तिमा बढी तौलको समस्या देखियो, मधुमेहको प्रकोपमा वृद्घि भयो । शरीरमा बोसोको मात्रा समेत बढ्दै गयो । यही तीनवटा अवस्था नै कलेजोमा बोसो जम्ने प्रमुख कारण हुन् ।
एउटा स्वस्थ कलेजोमा अलिकति पनि बोसो जमेको हुनुहुन्न । नन अल्कोहलिक फ्याटी लिभर रोगको मुख्य जटिलता सिरोसिस हो । जो कलेजोमा ढिलो गरी पर्ने चिनो (फाइब्रोसिस) हो । सिरोसिस कलेजोमा चोटको प्रक्रियाले गर्दा हुन्छ । यसले कलेजोको सुन्नाइलाई रोक्ने प्रयास गर्छ र यसको लागि यो स्कारिङ क्षेत्र (फाइब्रोसिस) लाई उत्पन्न गर्छ । निरन्तर सुन्नाइसँग फाइब्रोसिस बढीभन्दा बढी कलेजोको तन्तु ग्रहण गर्नको लागि फैलिन्छ । यो रोगको मुख्य कारणमा मोटोपना, मधुमेह, हाइपरलिपिडिमिया, आनुवांशिक कारण, कुनै विशेष औषधिको नकारात्मक प्रभावसमेत हुन सक्छ । धेरैजसो व्यक्तिमा यो रोगको कुनै लक्षणसमेत देखिँदैन । धेरैजसो समय कुनै घटना विशेषले पेटको अल्ट्रासाउन्ड गराउँदा यो समस्याबारे थाहा हुन्छ । केही व्यक्तिलार्ई भने यसको लक्षणअन्तर्गत अस्वस्थताको अनुभूति, थकाइ, कमजोरी, वाकवाकी, माथिल्लो दाहिने पेटमा बेचैनी समस्यासमेत देखिने गर्छ । यो समस्याको पहिचानअन्तर्गत चिकित्सकले बिरामीको रुटिन, रगत परीक्षण गराउँछन् । यसबाहेक अतिरिक्त परीक्षण हरूसमेत आवश्यक पर्न सक्छ । यसअन्तर्गत अल्ट्रासाउन्ड परीक्षण, सीटी स्क्यान, अपर ग्यास्ट्रो इन्टेस्टाइनल इन्डेस्कोपी, फाइव्रोस्क्यान मात्र नभई कलेजोको बायोप्सीसमेत गर्नुपर्ने हुन सक्छ ।
कलेजोमा बोसो जम्ने रोगको सटिक कारण अझैसम्म ज्ञात छैन । यस्तै, यसको कुनै प्रत्यक्ष उपचार पनि छैन । यसको अप्रत्यक्ष उपचार गरिन्छ । जस्तै, तौलमा कमी र निरन्तर व्यायामको सहयोगले मोटोपना घटाइन्छ । कलेजोमा बोसो जम्ने समस्या देखिएको करिब ७० प्रतिशत व्यक्तिमा मोटोपना देखिएको छ । अझ कलेजोमा बोसो जम्ने समस्या भएका करिब ७५ प्रतिशत व्यक्तिमा टाइप–२ मधुमेह देखिएको छ । कलेजोमा बोसो जमेका करिब २० देखि ८० प्रतिशत व्यक्तिको रगतमा उच्च लिपिड (बोसो) समेत देखिएको छ ।
कलेजोमा बोसो जमेकाहरूमा इन्सुलिन प्रतिरोधी (रेसिस्टेन्ट) अवस्थासमेत देखिएको छ । यो अवस्थामा शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन । तर यो आवश्यक छैन की त्यो व्यक्तिलाई मधुमेह नै भएको होस् । यो रोगको सम्भावित उपचार दीर्घकालीन, जीवनपर्यन्त पनि जारी रहन्छ । व्यक्ति विशेषमा उपचार निर्धारण गर्न कठिनसमेत हुन्छ ।
यो रोगबाट बाँच्न सकारात्मक जीवनशैली, दैनिक व्यायाम, स्वस्थकर खानपान र मुख्य रूपमा आफ्नो सही तौल कायम राख्नु आवश्यक छ । तर यो रोग विकसित नहोस् भनेर केही वर्षको अन्तरालमा अल्ट्रासाउन्ड परीक्षण एवं लिभर फङ्गसन टेस्ट गराउनु सहयोगी हुन सक्छ ।
यसको उपचारमा हाल केही नयाँ औषधिसमेत थपिएको छ । यसअन्तर्गत भिटामिन ‘ई’ र पायोग्लिटा जोन (मधुमेहको औषधि) ले केही मात्रामा सहयोग गरे तापनि यसबारे अझै विश्वसनीय प्रमाण खोज्ने प्रक्रिया जारी छ ।
हालसम्म कलेजोमा बोसो जम्ने समस्याको निवारणका लागि आफ्नो तौलमा उपयुक्त कमी ल्याउनुको साथै नियमित व्यायाम बाहेक अन्य उपाय छैन । तर सुखद कुरा के छ भने कलेजोमा बोसो जमेका धेरै व्यक्तिमा अन्य खतरनाक समस्या विकसित हुँदैन । तथापि केही व्यक्तिमा कलेजोमा बोसो जम्ने रोग समयसँगै झन् नराम्रो अवस्थामा पनि पुग्छ ।

विविधा

मोटोपनले हुन सक्छ मधुमेह

- कान्तिपुर संवाददाता

मोटोपनका कारण टाइप–२ मधुमेह र मुटुको रोगको खतरा छ गुणासम्म बढ्ने एक अध्ययनमा देखिएको छ ।
मोटोपनबाहेक वंशानुगत कारण र गलत जीवनशैलीले टाइप–२ मधुमेहको खतरा बढ्छ । अनुसन्धानलाई स्पेनको बार्सिलोनामा आयोजित युरोपियन एसोसिएसन अफ द डायबिटिकको बर्सेनि बैठकमा प्रस्तुत गरिएको थियो । अध्ययनअनुसार, जीवनशैली, मोटोपना र आनुवांशिकता टाइप–२ मधुमेहको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । विश्वभरि नै यो तीव्र गतिले फैलिरहेको एउटा साझा स्वास्थ्य समस्या हो ।
भारतमा मात्रै करिब १० लाख मानिस टाइप २ मधुमेहका सिकार छन् । २५ वर्षभन्दा कम उमेरका हरेक ४ व्यक्तिमा एक जनालाई टाइप–२ मधुमेह छ । इन्टरनेसनल डाइबिटिज फेडेरेसनका अनुसार, सन् २०१७ मा करिब ४ सय २५ मिलियन वयस्कलाई यो समस्या भएको थियो ।
टाइप–२ मधुमेह रोक्ने वर्तमान रणनीतिअन्तर्गत शरीरको तौललाई सामान्य राख्नु र स्वस्थकर जीवन शैलीलाई महत्त्व दिइएको छ । मधुमेहको बिरामीलाई सवैभन्दा बढी खतरा बढ्दो तौलको कारण हुन्छ । तपाईंमा मधुमेह नभए पनि पेटको छेउछाउ, नितम्ब र साप्रामा बोसो छ भने मधुमेह रोग हुने जोखिम बढ्छ ।

Page 9
विदेश

ब्रेक्जिट समयसीमा बढाइयो

- एएफपी

(लन्डन) - युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को समयसीमा पुनः थप गरिएको छ । युरोपेली संघमा आवद्ध देशका राजदूतहरू संलग्न बैठकमा ब्रेक्जिट समयसीमा थप गर्ने सहमति भएको हो । बीबीसीका अनुसार बैठकले ईयूबाट बेलायतको बहिर्गमनको अन्तिम मिति एक साताभित्र निर्धारण गर्ने निर्णयसमेत गरेको छ ।
युरोपेली आयोगका प्रवक्ता मीना आन्द्रेभाले भनेकी छन्, ‘म के भन्न सक्छु भने युरोपेली संघका २७ वटै देश ब्रेक्जिट समयसीमा थप्न तथा त्यसका लागि निरन्तर क्रियाशील रहन सहमत भएका छन् ।’ उनका अुनसार ईयू मुख्यालय ब्रसेल्समा सोमबार हुने बैठकमा त्यसको टुंगो लगाइनेछ ।
बेलायतका चान्सलर साजिद जाभिदले ‘बेलायत पूर्वनिर्धारित समयअघि नै युरोपेली संघबाट बाहिरिन असम्भव’ रहेको बताएपछि म्याद थपका लागि बैठक गरिएको हो । पूर्वनिर्धारित समयसीमाअनुसार बेलायत यही अक्टोबर ३१ भित्र ईयूबाट बाहिरिनुपर्ने थियो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू ईयूको निर्णय पर्खिरहेको बताएका छन् । ब्रेक्जिटबारे आफ्नो प्रस्तावमाथि संसद्मा सहमति जुटाउन असफल भएपछि जोन्सनले चुनावको प्रस्ताव गरेका छन् । ईयूले ब्रेक्जिट मिति सन् २०२० को जनवरीसम्म बढाएको खण्डमा डिसेम्बर १२ मा संसदीय चुनाव गर्ने प्रस्ताव जोन्सनको छ । नयाँ जनादेशले ब्रेक्जिट गतिरोध अन्त्य हुने उनको दाबी छ । बेलायती सांसदहरूले निर्वाचनसम्बन्धी जोन्सनको प्रस्तावबारे आगामी सोमबार निर्णय लिने जनाइएको छ ।
संसद्को चुनाव तत्काल भए कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोन्सन नै विजयी हुने पछिल्ला मतसर्वेक्षणहरूले देखाएका छन् । बेलायती जनमत र नेताहरू विभाजित रहेकाले यसको फाइदा जोन्सनलाई पुग्ने आंकलन छ । विपक्षी दलहरू मध्यावधि चुनाव तथा पुनः ब्रेक्जिट जनमतसंग्रह गर्ने/नगर्नेबारे अन्योलमै रहेकाले पनि जोन्सनको दल अगाडि देखिएको हो ।
यसअघि सन् २०१६ मा भएको जनमतसंग्रहमा बहुमत बेलायतीले ईयूबाट बेलायत बहिर्गमनको पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री जोन्सनले ईयूबाट बेलायतको बहिर्गमन अपरिहार्य रहेको बताउँदै आाएका छन् । जोन्सनले आगामी सोमबारसम्ममा निर्वाचन मितिलाई संसद्ले अनुमोदन गर्ने तथा ब्रेक्जिटबारेको नयाँ समयसीमाको टुंगो लाग्ने विश्वास लिएको जनाएका छन् । तर समयसीक्क्ध्माको मिति तोक्नका लागि युरोपेली संघसँग समन्वय गर्नुपर्छ ।
तर बेलायती विपक्षी सांसदहरूले चुनावका लागि प्रधानमन्त्री जोन्सनले यसअघि गरेका दुइटा अनुरोधलाई अस्वीकृत गरिसकेको छ । यसैले प्रधानमन्त्रीको नयाँ प्रस्ताव पनि संसद्बाट अनुमोदन हुनेमा आशंका कायमै छ ।
प्रधानमन्त्री जोन्सनले विपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनलाई एक पत्र लेख्दै ब्रेक्जिसम्बन्धी म्याद थप्दै जाने हास्यास्पद कार्य बन्द गर्न विपक्षी दल सहमत हुनुको विकल्प नरहेको उल्लेख गरेका छन् । देशलाई अनिर्णयको बन्दी बनाउने अल्मल्याउने कार्य तत्काल बन्द गर्नसमेत आग्रह गरेका बीबीसीले जनाएको छ ।
‘संसद्ले मुलुकलाई निरन्तर बन्धक बनाउन हुँदैन,’ उनले भनेका छन् । विपक्षी दलका नेता कोर्बिनले बिनासम्झौता ब्रेक्जिटको पक्षमा सहमति गरे मध्यावधि चुनावका लागि सहमत हुन सकिने धारणा राख्दै आएका छन् ।

विदेश

उपहार दिएको आरोपपछि जापानी मन्त्रीद्वारा राजीनामा

- एजेन्सी

टोकियो – जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका छन् ।
व्यापारमन्त्री इसु सुगावाराले टोकियोका आफ्ना मतदातालाई महँगो खरबुजा, सुन्तला तथा गँगटो उपहार दिएका विभिन्न सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेका थिए । उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन प्रस्ताव गरेका बताइएको छ ।
जापानको निर्वाचन कानुनअनुसार कुनै पनि राजनीतिज्ञले आफ्ना मतदातालाई चन्दा तथा उपहार दिन पाउँदैनन् ।
सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार जापानी येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए । सुगावारामाथि आरोप लगाउँदै जापानी साप्ताहिक पत्रिका शुकान बुनसुनले पहिलोपटक समाचार सार्वजनिक गरेको हो ।
जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो । तर पत्रिकाले सुगावाराले पठाएका उपहारका सूची र उनलाई धन्यवाद दिँदै लेखिएका विभिन्न पत्र प्रकाशित गरेको थियो ।
सुगावाराले शुक्रबार आफ्नो कार्यले देशको निर्वाचन कानुन उल्लंघन भए/नभएकोबारे अध्ययन गरिरहेको बताएका थिए । यद्यपि, उनले आफूमाथि आरोप लगाइए पछि राजीनामा दिनु उचित भएको बताएका हुन् ।
‘मेरो समस्याका कारण संसद्मा हुने छलफल प्रभावित होस् भन्ने म चाहन्नँ,’ सुगावाराले बताए । जापानी प्रधानमन्त्री सिन्जो अबेले ‘सुगावारालाई नियुक्त गरेको जिम्मेवारी आफूले लिने बताउँदै भनेका छन्, ‘म जापानी नागरिकहरूसँग क्षमा चाहन्छु ।’

विदेश

इराकमा प्रदर्शन, २ को मृत्यु

- एजेन्सी
रोजगारीको माग गर्दै इराकको राजधानी बग्दादमा शुक्रबार गरिएको प्रदर्शन । तस्बिर ः रोयटर्स

बग्दाद – इराकको राजधानी बग्दादमा शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा कम्तीमा २ जनाको मृत्यु भएको छ । 

रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै बग्दादमा केही दिन यता नियमित प्रदर्शन गरिँदै आएको छ । प्रदर्शनकारीलाई भगाउन प्रहरीले शुक्रबार अश्रुग्यास तथा रबरका गोली हालेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रहरीले हालेको अश्रुग्यासको सेल लागेर २ प्रदर्शनकारीको मृत्यु भएको हो । घटनामा केही घाइते छन् । यसै महिनाको सुरुमा गरिएको यस्तै प्रदर्शनमा गरिएको प्रहरी दमनका कारण कम्तीमा १५० जना घाइते भएका थिए । प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको एक सरकारी प्रतिवेदनमा उल्लेख छ ।
बिहीबार इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले जनताले शान्तिपूर्वक विरोध तथा प्रदर्शन गर्न पाउने बताएका थिए । यद्यपि, उनले ‘हिंसा अस्वीकार्य भएको’ भन्दै प्रदर्शनकारीलाई चेतावनी दिएका थिए ।
महदी प्रधानमन्त्रीमा चयन भएको शुक्रबार एक वर्ष पुगेको छ । उनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा सुधारका कार्यक्रम ल्याउने बताए पनि प्रदर्शनकारी आश्वस्त भएका छैनन् ।
बग्दादस्थित ताहरी स्क्वायरमा बिहीबार रातिदेखि नै भेला भएका सयौं प्रदर्शनकारी शुक्रबार बिहानै सरकारी कार्यालयहरू रहेको स्थानको नजिकै पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले उनीहरूलाई उक्त स्थानबाट भगाउन दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका थिए ।
इराकी मानवअधिकार आयोगका सदस्य अली बयातीले अश्रुग्यासको सेलले लागेर कम्तीमा दुई जनाको ज्यान गएको पुष्टि गरे । इराकका दक्षिणी सहर दिवानिया, नाजाफ र नसिरियामा पनि सयौं प्रदर्शनकारी सरकारको विरोधमा सडकमा उत्रेका बीबीसीले जनाएको छ ।
अक्टोबर १ देखि सुरु भएको प्रदर्शनका सहभागीमध्ये अधिकांश युवा तथा बेरोजगार छन् । सरकारद्वारा गठित एक अनुसन्धान समितिका अनुसार अक्टोबर १ देखि ६ सम्म भएका प्रदर्शनका क्रममा कम्तीमा १४९ सर्वसाधारण तथा ८ सुरक्षाकर्मी मारिएका जनाएको छ ।
तीमध्ये तीन चौथाइको राजधानी बग्दादका प्रदर्शनका क्रममा मृत्यु भएको हो । समितिले दर्जनौं वरिष्ठ सुरक्षाकर्मीलाई बर्खास्त गर्नुपर्ने तथा घटनामा संलग्नलाई मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । यद्यपि, प्रधानमन्त्री तथा केही वरिष्ठ अधिकारीलाई दोषी ठहर गर्दै घटना सामसुम पारिएको थियो ।

Page 10
समाचार

पैसा तिर्न नसक्दा अस्पतालले शव दिएन

- अर्जुन राजवंशी
बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय परिसरमा राखिएका डल्फिन यातायातका बसहरू र इन्सेटमा मृतक जंगबहादुर राजवंशी ।तस्बिर ः अर्जुन/कान्तिपुर

(बिर्तामोड) - श्रीमान्को शवका लागि सविना राजवंशी पाँच दिनदेखि हारगुहार गरिरहेकी छन् । ४९ वर्षीय श्रीमान् जंगबहादुर राजवंशीको शव बिर्तामोडको बीएन्डसी अस्पतालले निकाल्न दिएको छैन ।
बिर्तामोड–४ का जंगबहादुर काँकडभिट्टा–धरान चल्ने मे१ख २६५१ नम्बरको डल्फिन यातायात बसका चालक थिए । गत असोज २६ मा काँकडभिट्टातर्फ आउने क्रममा उनी घाइते भएका थिए । परिवारका अनुसार मोरङको बेलबारी सडकखण्डमा अटोरिक्सालाई जोगाउने क्रममा ब्रेक लगाउँदा चालक राजवंशीको टाउको बसको स्टेरिङमा ठोक्किएको थियो । उक्त घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल बिर्तामोडको बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको कात्तिक ४ को बिहान मृत्यु भएको हो । उनको उपचारको अस्पतालमा करिब ६ लाख रुपैयाँको बिल थियो । त्यसमा परिवारले ऋण खोजेर ७३ हजार रुपैयाँ बुझाए । ५ लाख २५ हजार रुपैयाँ बुझाउन नसक्दा अस्पतालले शव निकाल्न नदिएको हो ।
अस्पताल प्रबन्धक प्रताप कार्की शव अस्पतालले रोकेर नराखेको दाबी गर्छन् । ‘अस्पताले आफ्नो खर्च माग्नु अस्वाभाविक होइन,’ उनले भने, ‘उहाँहरू सहमति गर्न कोही आउनुभएको छैन । यातायात कम्पनी वा प्रशासनबाट जो आए पनि शुल्कको ग्यारेन्टी गरेर गइदिए हामी शव लैजान दिन्छौं ।’ परिवारका सदस्य, यातायात कम्पनी वा प्रशासन कसैले पनि शव लैजाने प्रक्रियामा आउन नमानेको उनले बताए ।
जंगबहादुरको कमाइबाट चल्दै आएको परिवारको आर्थिक स्थिति कमजोर छ । घटना भएदेखि झापाली कम्पनी डल्फिन यातायातका सञ्चालकहरू सम्पर्कविहीन छन् ।
‘राजवंशी संस्कार’ अनुसार निधन भएको एक दिन पनि शव त्यसै राख्न मिल्दैन । मृत्यु भएको यतिका दिनसम्म श्रीमान्को शव अन्त्येष्टिका लागि लैजान नपाउँदा सविना विक्षिप्त बनेकी छन् । छोराहरू ९ वर्षका रविन र ८ वर्षका लक्कीले बुबाको मृत्युको दिनदेखि राम्ररी खाना खाएका छैनन् । आफन्त सबै अस्पतालमा ‘बन्धक’ रहेको शव ल्याएर दाहसंस्कार गराउने प्रयत्नमा जुटिरहे पनि तिर्नुपर्ने रकम धेरै भएकाले पैसा जुटाउन सकिरहेका छैनन् ।
‘सवा ५ लाख हाम्रा लागि धेरै ठूलो रकम हो, भन्नेबित्तिकै ऋण पत्याइदिने पनि भेटेका छैनौं,’ जंगबहादुरका दाजु तोरण राजवंशीले भने, ‘हामी आत्तिएका छौं । मानवअधिकार खोइ ? पैसा नहुनेले मृत्यु हुँदा दाहसंस्कार गर्न नपाउनु ? ’ इलाका प्रहरी कार्यालय बिर्तामोडअनुसार डल्फिन यातायातमा जीवन रेग्मी, कमलकुमार साह, चन्द्र फुयाल र शिरोमणि पौडेलको लगानी छ ।
पीडित परिवारले अस्पतालको उपचार खर्च र क्षतिपूर्ति माग गर्दै इप्रकामा उजुरी पनि दिएका छन् । ‘बस सञ्चालकहरू कोही पनि छलफलमा नआउँदा शव अस्पतालबाट निकाल्न सकिएको छैन,’ बिर्तामोडका डीएसपी मोहनकुमार थापाले भने, ‘हामी त्यो डल्फिनका सञ्चालकहरूको खोजी गरिरहेका छौं ।’ सहकर्मीको मृत्यु हुँदासम्म कम्पनी सञ्चालकहरू छलफलमा नआएको भन्दै डल्फिन यातायातका १३ वटा बसका चालकहरू विरोधमा उत्रिएका छन् ।
उनीहरूले सबै बस बिहीबारदेखि इलाका प्रहरी कार्यालयमा ल्याएर राखेका छन् । ‘राजवंशीको परिवारले श्रम ऐन २०७४ अनुसार उपचार खर्च र दुर्घटना बिमाबापतको राहत पाउनुपर्छ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव देवीप्रसाद भट्टराईले भने ।
अस्पतालबाट शव निकाल्ने विषयमा शुक्रबार दिनभर छलफल भए पनि निष्कर्षमा पुगेन । डल्फिन कम्पनीका आधिकारिक प्रतिनिधि कोही उपस्थित भएनन् । पीडित परिवार र मेची यातायात व्यवसायी संघका प्रतिनिधिबीचको छलफल सहमति नजिक पुगे पनि डल्फिनका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गर्ने कोही नभएपछि पीडित परिवारले शव घर लान नपाएका हुन् ।
‘हाम्रो मान्छेको शव अस्पतालमा बन्धक अवस्थामा छ । अभिभावक गुमाएको परिवार विक्षिप्त छ,’ राजवंशी समाज विकास समितिका अध्यक्ष पुकार राजवंशीले भने, ‘यस्तोमा हामी न्यूनतम सर्तमा सहमति गर्न तयार छौं । तर, मान्छेको मृत्यु हुँदासमेत डल्फिन कम्पनीका सञ्चालकहरू सम्पर्कमा नआउनु योभन्दा हद अरू के हुन सक्छ ?’ शव अस्पतालमा बन्धक रहँदासम्म प्रशासनले कम्पनीको प्रतिनिधि झिकाएर छलफल गराउन नसकेको उनले आरोप लगाए ।

समाचार

अतिरिक्त शुल्कविरुद्ध आन्दोलन चर्किंदै

विद्यार्थीद्वारा वार्षिक परीक्षा बहिष्कारको चेतावनी
- सुदीप कैनी
नेसनल मेडिकल कलेजका विद्यार्थी वीरगन्जमा प्रदर्शन गर्दै । तस्बिर ः भूषण यादव/कान्तिपुर

(काठमाडौं) - चिकित्सा शिक्षाको अतिरिक्त शुल्कविरुद्ध पोखराको गण्डकी मेडिकल कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलन चितवन मेडिकल कलेज हुँदै वीरगन्जको नेसनल मेडिकल कलेजसम्म फैलिएको छ । १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुल्ने नेसनलमा बिहीबारदेखि विद्यार्थीले प्रदर्शन थालेका हुन् ।
त्रिवि र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजले मनोमानी शुल्क उठाउन थालेपछि विद्यार्थीहरू राष्ट्रिय चिकित्सा शिक्षा संघर्ष समिति गठन गरेर देशभर आन्दोलन चर्काउने तयारीमा छन् । गत फागुनमा गण्डकीबाट अतिरिक्त शुल्क रकम फिर्ताको मागसहित आन्दोलन सुरु भएको थियो । गण्डकीले सहमतिअनुसार अतिरिक्त रकम फिर्ता नगर्दै भरतपुरस्थित चितवन मेडिकलमा विद्यार्थीले आन्दोलन थाले । चितवनले अवैध रूपमा उठाएको रकम कात्तिक १८ भित्र फिर्ता गरिसक्ने प्रतिबद्धता जनाएको छ । संघर्ष समितिको अगुवाइमा मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारी सञ्चालक रहेको नेसनलमा शुल्क फिर्ताको आन्दोलन सुरु भएको हो ।
कलेजले बिल नै छपाएर विभिन्न १३ शीर्षकमा मनपरी शुल्क लिँदै आएको विद्यार्थीको आरोप छ । कलेजले एमबीबीएस तहका विद्यार्थीबाट १२ लाखसम्म बढी रकम उठाएको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । अहिले पनि बढी शुल्क लिन नछाडेको विद्यार्थीको गुनासो छ । ‘हामीसँग सरकारले तोकेभन्दा बढी रकम मागिन्छ,’ एक विद्यार्थीले भने, ‘कलेजको तोकेको समयमा शुल्क नबुझाए दिनदिनै ब्याज जोडिँदै जान्छ ।’ ब्याजसहितको रकम नतिरे परीक्षामा सहभागी हुन नदिने र पास भइसकेको भए शैक्षिक प्रमाणपत्र नदिने गरेको विद्यार्थीको भनाइ छ । कतिपय विद्यार्थीले ब्याज मात्रै एक लाख रुपैयाँसम्म बुझाएका छन् ।


शुल्क फिर्ता माग्दा कुटे ः संघर्ष समिति
संघर्ष समितिका विद्यार्थी प्रतिनिधि बिहीबार नेसनलका विद्यार्थीसँग आन्दोलनका विषयमा छलफल गर्न वीरगन्ज पुगेका थिए । चर्को शुल्कविरुद्ध आफूहरूले शान्तिपूर्ण विरोध र्‍याली गर्न खोज्दा कलेज सञ्चालकले कुटपिट गरेको समितिकी सदस्य मान्यता थापाले बताइन् । थापा चितवन मेडिकल कलेजकी विद्यार्थी हुन् । शुल्क फिर्तालगायत मेडिकल शिक्षाका विकृति विसंगतिविरुद्ध जुट्न विद्यार्थीले केन्द्रीय संघर्ष समिति गठन गरेका छन् । समितिमा विभिन्न मेडिकल कलेजका विद्यार्थी प्रतिनिधि आबद्ध छन् । नेसनलका कलेजका प्रबन्ध निर्देशक अन्सारीको उपस्थितिमा विद्यार्थीमाथि दमन गरिएको थापाको गुनासो छ । ‘विद्यार्थीले कार्यक्रम गर्न तयारी गरेको माइक तोडफोड गरियो, ब्यानर पनि च्यातियो,’ संघर्ष समितिले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘वीरगन्जवासी पनि अन्सारीसँग त्रस्त रहेछन् ।’
कलेजका विद्यार्थीलाई समेत शुक्रबार राति अन्सारीले ‘गुन्डा’ लगाएर कुटपिट गरेको थापाको दाबी छ । ‘नेसनलका विद्यार्थीले बोलाएर हामी बढी शुल्क लिइएको विषयमा छलफल गर्न गएका थियौं,’ उनले भनिन्, ‘पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेत मेडिकल सञ्चालकसँग मिलेर हामीलाई एस्कर्टिङ गरेर फर्काइयो ।’ सरकारको संरक्षणमा अन्सारीले विद्यार्थीमाथि ‘दादागिरी’ गरेर चर्को शुल्क असुल्दै आएको विद्यार्थीहरूको आरोप छ ।
अन्सारीको व्यवहारप्रति संघर्ष समितिका प्रवक्ता नरेश भट्टले खेद प्रकट गरे । समितिले मन्त्रिपरिषद्ले तोकेभन्दा बढी लिएको शुल्क मेडिकल कलेजहरूले फिर्ता गर्नुपर्ने माग राख्दै आएको छ । ‘शुल्क फिर्ताको माग लिएर देशभरका मेडिकल कलेजमा आन्दोलन गर्छौं,’ समिति संयोजक प्रकाश चन्दले भने, ‘राज्यले तोकेभन्दा बढी शुल्क तिर्दैनौं ।’
अध्यक्ष अन्सारी भने मेडिकल कलेजहरूको ठगी प्रकरण मिलाउन उच्च राजनीतिक तह र प्रधानमन्त्रीसम्मको ‘लबिइङ’ मा लागिपरेको विद्यार्थीहरू बताउँछन् । प्रधानमन्त्रीलाई भेटेर उनले मेडिकल कलेजहरूले अतिरिक्त शुल्क नलिएको दाबी गर्दै आएका छन् । उनले संसदीय समिति र सरकारका मन्त्रीहरूलाई कलेजहरू घाटामा रहेको ‘बिफ्रिङ’ गर्दै आएको विद्यार्थी बताउँछन् । ‘नेकपाका नेताहरूसँग उहाँ (अन्सारी) को राम्रो संगत छ,’ उक्त स्रोतले भन्यो, ‘नेकपामा उच्च तहका नेता, सेना र प्रहरीका उच्च तहका कर्मचारी वीरगन्ज आउँदा पनि मेडिकल कलेजकै गेस्टहाउसमा बस्दै आएका छन् ।
मेडिकल कलेजहरूको ठगी प्रकरण सार्वजनिक हुन थालेपछि सरकारनिकटका अन्सारीलाई गत फागुनमा एसोसिएसनको अध्यक्षको जिम्मेवारी दिइएको हो । यसअघि कांग्रेसनिकटका सुरेश कनौडिया अध्यक्ष थिए । एक विद्यार्थीबाट नेसनल मेडिकल कलेजले १५ लाख रुपैयाँसम्म बढी शुल्क उठाएको पाइएको छ । यसको बिल भर्पाई कान्तिपुरसँग सुरक्षित छ । ‘शुल्कका विषयमा बोले आक्रमण गर्ने धम्की दिइएको छ,’ उनले भनिन् । अन्सारीले भने अन्य कलेजका विद्यार्थी आएर आफ्नो कलेजका विद्यार्थीलाई उचाल्न लागेपछि आफूले मिलाएको प्रतिक्रिया दिएका छन् ।
मेडिकल कलेजहरूको आन्दोलनका कारण महिनौंसम्म विद्यार्थीको पठनपाठन प्रभावित छ । शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने समितिको अडान छ । बढी रकम फिर्ता नभए परीक्षासमेत बहिष्कार गर्ने संयोजक चन्दले चेतावनी दिए । ‘चिकित्सा शिक्षाका सबै विषयको पहिलो र दोस्रो वर्षको परीक्षा रोक्न डिन कार्यालयलाई अनुरोध गरेका छौं,’ उनले भने । आन्दोलनका कारण पढाइ प्रभावित भएकाले परीक्षासमेत पर सार्नुपर्ने विद्यार्थीहरूको माग छ ।

Page 11
अर्थ वाणिज्य

पुँजीगत खर्च नगन्य

- निर्मला खडायत

(धनगढी) - चालु आर्थिक वर्षको ३ महिनामा प्रदेश सरकारको पुँजीगत खर्च ० दशमलव ६१ रहेको छ । १३ अर्ब ६ करोड ७१ लाख पुँजीगत बजेट रहेकामा साउनदेखि असोजसम्मको अवधिमा ७ करोड ९६ लाख मात्रै खर्च गरेको छ । चालु आर्थिक वर्ष ०७६/७७ को असोज मसान्तसम्म कुल बजेटमध्ये २ दशमलव ६८ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।
कार्यालका अनुसार सबैभन्दा कम बजेट खर्च गर्ने मन्त्रालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको छ । उक्त मन्त्रालयले यस अवधिमा पुँजीगत खर्च ० दशमलव ३४ प्रतिशत गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले १ दशमलव २२ प्रतिशत खर्च गरेको लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत यज्ञराज पाण्डेले बताए । सामाजिक विकास मन्त्रालयले ३ दशमलव ५४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३ दशमलव ०९ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ४ दशमलव ९० प्रतिशत खर्च गरेको लेखा अधिकृत पाण्डेले बताए ।
‘मन्त्रालयले अहिले नै धेरै खर्च गरिसक्नुपर्ने अवस्था त होइन तर सुरुआत पनि गर्न नखोजेको भने यसबाट प्रस्टै हुन्छ,’ लेखा अधिकृत पाण्डेले भने, ‘हरेक वर्ष आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपाटीले यसो भएको हो ।’ आर्थिक वर्षको सुरुमा बजेट विनियोजन, बजेटको अख्तियारी गर्नुपर्ने, ठेक्कापट्टाका कामलगायत प्रशासनिक काम थुप्रै गर्नुपर्ने भएकाले बजेट खर्चमा ढिलाइ हुनु स्वाभाविक भएको उनले बताए । ३ महिनामा १ प्रतिशत पुँजीगत बजेट पनि खर्च नहुनुले यस वर्ष पनि असारे विकासले प्राथमिकता पाउने निश्चितजस्तै भएको उनको भनाइ छ ।
प्रदेश सरकारको चालुतर्फको खर्च भने ३ दशमलव ३६ प्रतिशत रहेको छ । १४ अर्ब ६९ करोड ४८ लाख ३६ हजार चालुतर्फको बजेट रहेकामा ४९ करोड ४५ लाख खर्च भएको लेखा अधिकृत पाण्डेले बताए ।
पुँजीगत बजेट खर्चको अवस्था यस वर्ष पनि सुरुबाट नै निराशाजनक देखिएको हो ।

अर्थ वाणिज्य

‘निजी क्षेत्रले अनुभूति गर्नुपर्छ’

डुइङ बिजनेस इन्डेक्स
- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक वातावरणको सूचकांक (डुइड बिजनेस इन्डेक्स) मा नेपालले गरेको सुधार निजी क्षेत्रले अनुभूति गर्नुपर्ने बताएका छन् । विश्व बैंकले प्रकाशित गरेको डुइड बिजनेस इन्डेक्समा नेपालले गरेको सुधारबारे जानकारी दिन आयोजित कार्यक्रममा शुक्रबार अर्थमन्त्री खतिवडाले नेपालको सूचकांक सुधारिँदा प्रोत्साहन मिलेको बताए ।
उनले यो वर्ष समेट्न नसकिएका विषय अर्को वर्षको रिपोर्टमा समेटिने बताउँदै ८० औं स्थानमा उक्लने अबको लक्ष्य भएको बताए ।
‘निजी क्षेत्रले सहजता महसुस गरेन भने जति कानुन सुधार गरेर पनि केही हुन्न,’ अर्थमन्त्री खतिवडाले भने, ‘डुइङ बिजनेसमा भएको सुधार निजी क्षेत्रले महसुस गर्नुपर्छ ।’ उनले सूचकांकमा मात्रै सुधार नभई दैनिक जीवनमा पनि यसको अनुभूति हुनुपर्ने धारणा राखे । डुइङ बिजनेस इन्डेक्समा नेपालले गरेको सुधारले संघीय अर्थतन्त्रको संक्रमणकाल पार भएको संकेत गरेको उनको दाबी थियो । ‘संघीयता लागू भएपछि कर बढ्छ र व्यवसायको लागत बढ्छ भन्ने थियो,’ उनले भने, ‘आगामी दिनमा संघीयताका कारण उत्पन्न भएको दोहोरो करको समस्या पनि रहँदैनन् ।’
सरकारले डिजिटल फ्रेमवर्क तयार पारिरहेको र सरकारी क्षेत्रमा डिजिटल प्रणालीको प्रयोगबाट लागत र समय घटाउने तयारी रहेको जानकारी दिए । ‘डिजिटल प्रणालीको वैधानिकताका लागि सरकारले सूचना प्रविधिसम्बन्धी कानुन तयार पारेर संसद्मा पेस गरेको छ,’ उनले भने, ‘उक्त कानुनले डिजिटल प्रणालीबाट गरिने कामलाई वैधानिकता दिन्छ ।’
विश्व बैंकका नेपाल प्रबन्धक फरिस हदाद जर्भसले व्यावसायिक वातावरण सूचंकाकको हिसाबले नेपाल सही दिशातर्फ अघि बढिरहेको बताउँदै अघिल्लो वर्ष नेपालले व्यावसायिक वातावरण तयार गर्न धेरै सुधारको काम गरेको टिप्पणी गरे ।
उनले विश्व बैंकले डुइङ बिजनेस इन्डेक्स एकाकी रूपमा नबनाएको दाबी गरे ।
विश्व बैंकले बिहीबार सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्स २०२० को विषयमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले सुधारका हिसाबले नेपाल सही ट्र्याकमा रहेको दाबी गरे ।
सरकारले सहज बनाएका कतिपय विषय निजी क्षेत्रका व्यक्तिहरूले थाहा नपाउने समस्या रहेको उनको टिप्पणी थियो । उनले डुइङ बिजनेस इन्डेक्स तयार पार्दा गरिने अन्तर्वार्तामा सहभागीले पनि सरकारले गरेको सुधार थाहा नपाएकाले समस्या परेको बताए ।
उनले निजी क्षेत्रलाई नियम र कानुन बुझेको मानिसलाई काममा लगाउन आग्रह गरे । व्यावसायिक वातावरण सुधारका लागि सरकारले तीनवर्षे रणनीति बनाएको भन्दै सन् २०२१ को रिपोर्टमा त्यो प्रतिविम्बित हुने दाबी गरे ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विश्व बैंकको प्रतिवेदनमा नेपालले गरेको प्रगति सराहनीय भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
उनले श्रम सम्बन्ध पहिलेको भन्दा धेरै सुध्रिएको भए पनि लगानीकर्तालाई जग्गा प्राप्तिको समस्या रहेको बताए । यस्ता समस्या सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै उनले निजी क्षेत्रले विदेशी लगानी भित्र्याउन सघाउने प्रतिबद्धता जनाए ।
विद्युत् अभाव नभए पनि विद्युत्को गुणस्तरप्रति उद्योगीको गुनासो रहेको उनले बताए । विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्समा नेपाल यो वर्ष १६ स्थान माथि उक्लिएर ९४ औं स्थानमा पुगेको छ । यो प्रतिवेदनमा १९० वटा देश समेटिएको छ । गत वर्ष नेपाल ११० औं स्थानमा थियो । अध्ययनको क्रममा समेटिएको १० वटा सूचकांकमध्ये ५ वटामा नेपालले सुधार गरेको र ३ वटा सूचकांकको अवस्था झन् नकारात्मक देखिएको छ ।

अर्थ वाणिज्य

सातै प्रदेशका स्मारिका सिक्का निकालिने

- यज्ञ बञ्जाडे

(काठमाडौं) - राष्ट्र बैंकले सात वटै प्रदेशको स्मारिका सिक्का निकाल्ने भएको छ । हरेक प्रदेशका राष्ट्रिय विभूति, आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदामध्ये कुनै एक अंकित गरी स्मारिका सिक्का निकाल्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । मुलुक संघीयतामा गएपछि बनेका प्रदेशको पहिचान र प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले स्मारिका सिक्का छाप्ने योजना बनेको राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए । ‘हरेक प्रदेशका स्मारिका सिक्का फरकफरक हुन सक्छन्,’ उनले भने, ‘सम्बन्धित प्रदेशमा विशेष महत्त्व राख्ने विषय वस्तु अंकित गरेर सिक्का निकालिनेछ ।’ सिक्का निष्कासनअघि यसबारे सम्बन्धित प्रदेशको पनि राय मागिने उनले बताए । ‘सिक्कामा अंकित विषयवस्तु विवादित नहोस्,’ उनले थपे, ‘हाम्रो उद्देश्य स्मारिका सिक्कामार्फत हरेक प्रदेशको पहिचान देश विदेशमा प्रचारप्रसार होस् भन्ने हो ।’
सुरुमा किप्रोनिकल धातु (कपर र निकल मिश्रित) बाट १ सय रुपैयाँ अंकित सिक्का बनाइने र मागअनुसार त्यसलाई बढाउँदै लैजाने राष्ट्र बैंकले बताएको छ । तिहारलगत्तै स्मारिका सिक्का बनाउने योजना रहे पनि प्राविधिक कारणले ढिलाइ हुन सक्ने आचार्यले बताए । ‘सुन्धारा स्थित टक्सारबाट सिक्का बनाउने गरिएकामा हाल उक्त स्थान धरहरा निर्माणमा उपयोग हुँदै छ । यसकारण अब यो स्थान छोड्नुपर्ने भएको छ । अर्को ठाउँमा गएर मेसिन जडान गर्न कति समय लाग्छ । त्यसकै आधारमा स्मारिका सिक्का निर्माणका लागि समय तोकिने उनले बताए । राष्ट्र बैंकले यो वर्षदेखि बबरमहलबाट असर्फीलगायत अन्य सिक्का बिक्री गर्दै आएको छ । सिक्का छाप्नका लागि पनि सोही स्थानमा मेसिन जडान गर्ने राष्ट्र बैंकको तयारी छ । ‘यसका लागि सरकारको अनुमति चाहिन्छ,’ स्रोतले भन्यो, ‘हेरै कति छिटो प्रक्रिया पूरा हुन्छ ? सामान्य आधारमा कुनै संस्था वा कम्पनीको आग्रह र स्मारिका सिक्का निकालिन्छ । प्रदेशका स्मारिका सिक्का राष्ट्र बैंक अफैंले बनाउन लागेको हो । ती सिक्का राष्ट्र बैंकले बिक्री गर्नेछ ।
राष्ट्र बैंकले धेरै पहिलेदेखि नै स्मारिका सिक्का निकाल्दै आएको हो । स्मारिका सिक्का निष्कासन गर्दा सरकारको अनुमति चाहिन्छ । यस्ता सिक्कामा राष्ट्रिय विभूति वा सरकारबाट अनुरोध भई आएका व्यक्तित्वसँग सम्बन्धित विषयवस्तु राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धि अंकित गरिन्छ । आर्थिक, सामाजिक वा सांस्कृतिक क्षेत्रमा क्रियाशील रही योगदान पुर्‍याउँदै आएको कुनै कम्पनी, संघ, संस्थाको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धिसँग सम्बन्धित विषयवस्तु पनि सिक्कामा अंकित गरिएको हुन्छ । विशेष आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदालगायत पनि स्मारिका सिक्कामा अंकित गरिएको हुन्छ । चाँदीलगायत अन्य धातु वा धातु सम्मिश्रण गरी स्मारिका सिक्का बनाइन्छ ।
स्मारिका सिक्का पनि अंकित मूल्यमा बिक्री गरिन्छ । यस्तो सिक्का एकपटक बनाएपछि पुनः निर्माण (टकमरी) गरिँदैन । एकपटक निर्माण गरिएको स्मारिका सिक्का बिक्री नभई बाँकी रहेको अवस्थामा त्यस्तो सिक्काको टकमरी गरिएको मितिले १० वर्षमा पुनर्मूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गर्नुपर्ने कानुनी व्यवस्था छ । यो वर्ष राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशी, गुरु नानकदेव र धितोपत्र बोर्ड अंकित स्मारिका सिक्का निकालेको छ । २५ औं वार्षिकोत्सवको अवसरमा धितोपत्र बोर्ड अंकित २५ सय र १ सय दरका चाँदीका स्मारिका सिक्का निकालिएको थियो ।
संस्कृतिविद् सत्यमोहन जोशी र गुरु नानकदेव अंकित सिक्का पनि २५ सय, हजार र १ सय दरका छन् । यो वर्षको तिहारमा यी सिक्काको माग धेरै भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले असर्फी र मेडालियन सिक्का पनि बनाउँदै आएको छ ।
‘मेडालियन’ भन्नाले आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले टकमारी (निर्माण) गरिने सिक्का हो । हाल लक्ष्मी, गणेश र लक्ष्मी प्लस गणेश चित्र भएका सिक्काको माग धेरै रहेको बताइएको छ । यी सिक्कामा अंकित मूल्य उल्लेख हुन्छ । सोही दरमा सिक्का खरिद गर्न सकिन्छ ।

अर्थ वाणिज्य

शिलान्यास गरेको ७ महिनामा पनि सुरु भएन

नारायणगढ–बुटवल सडक विस्तार
- विमल खतिवडा,घनश्याम गौतम
बुटवल–नारायणघाट सडक विस्तारको शिलन्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर ः कान्तिपुर

(काठमाडौं/रूपन्देही) - गत चैत ८ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको शिलान्यास गरे । भव्य रूपमा सडक शिलान्यास गरेको ७ महिना बित्दा पनि निर्माणमा प्रगति देखिएको छैन । चार वर्षमा निर्माण सक्नुपर्ने उक्त सडकको आधा वर्ष बित्दासमेत काम अघि बढ्न सकेको छैन । दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिए हो ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्मा पूर्वतयारी नपुगेका कारण निर्माणमा ढिलाइ भएको बताउँछन् । ‘निर्माण कम्पनीले पूर्वतयारी गरिरहेको छ,’ उनले भने, ‘निर्माण ढिलाइ भएको बारे सोधिरहेका छौं, पुलको फर्मा बनाउने, क्रसर प्लान्ट स्थापना गर्ने काम भएकाले साइटको काम नदेखिएको हो ।’
उनले निर्माणमा प्रयोग हुने मेसिन बाहिरबाट ल्याउनुपर्ने भएकाले केही ढिलाइ भएको दाबी गरे । अहिले सडक मर्मतको काम पनि भइरहेको छ । सडक विभागअन्तर्गतको एडीबी सडक निर्देशनालयले चाइना स्टेट कन्ट्रक्सनसँग माघ २४ मा ठेक्का सम्झौता गरेको थियो । एसियाली विकास बैंकले ३२ वर्षका लागि ऋण सहयोग गरेको हो । निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । जसमा ८५ प्रतिशत रकम १ दशमलव ५ प्रतिशत ब्याजदरमा एडीबीले ऋण दिनेछ । थप खर्च नेपाल सरकारकै हुनेछ । सडकको लम्बाइ १ सय १३ किमि रहेको छ । दुई वटा प्याकेज बुटवलदेखि दाउन्ने र दाउन्नेदेखि नारायणगढ रहेको छ ।
‘बस्ती भएका ठाउँमा ८ लेन र नभएको ठाउँमा चार लेनको सडक बन्नेछ,’ महानिर्देशक शर्माले भने, ‘सडकसँगै ५० वटा चार लेनका पुल पनि बन्नेछन् ।’ यही ठेक्काअनुसार पुल बन्नेछन् । गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किमि र दाउन्नेदेखि बुटवल चौराहासम्म ४८ किलोमिटरमा ठेक्का भएको हो । गैंडाकोटदेखि दाउन्नेसम्मको लागत ९ अर्ब १३ करोड १८ लाख र दाउन्नेदेखि बुटवलसम्म ७ अर्ब ८६ करोड लाग्नेछ । यता आयोजनाले सडकमा पर्ने संख्या ५ गुणा बढेपछि शिलन्यासको लामो समयसम्म काम सुरु हुन नसकेको जनाएको छ । सडकको दुवैतर्फ रहेका काट्नुपर्ने रुखको संख्या वातावरणीय प्रभाव मूल्यांकन गर्नुभन्दा अहिले ५ गुणा बढेपछि विस्तारको काम रोकिएको हो ।
बुटवल–नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख इन्जिनियर सुरेश न्यौपानेका अनुसार सडक विस्तारका लागि सरकारले सन् २०१६ मा वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो । मूल्यांकनका लागि विदेशी संस्था एमएमएमसँगको जोइन्ट भेन्चरमा नेपाली परामर्शदाता इटेको नेपाललाई विभागले नियुक्त गरेको थियो ।
०१६ सेप्टेम्बरमा बुझाएको प्रतिवेदनमा त्यसमा ९ हजार २७ रुख काट्नुपर्ने उल्लेख छ । विभागले त्यसकै आधारमा ठेक्का स्वीकृत गरेर निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण सुरु गर्नुपूर्व रुखको लगत लिने क्रममा मापदण्डअनुसारका रुख बढेर ५० हजार ३ सय ५२ संख्या पुगेको छ । ‘२० प्रतिशत रुख तलमाथि हुनु स्वाभाविक मानिन्छ,’ उनले भने, ‘तर, धेरै नै फरक परेपछि कारण खोजी र इन्भाइरोमेन्ट म्यानेजमेन्ट प्लान्ट (ईएनपी) परिवर्तन गर्ने प्रयास हुँदै छ ।’ स्वीकृतिका लागि वातावरण मन्त्रालयको कानुन शाखामा फाइल पुगेको उनले बताए ।
एसियाली विकास बैंकको आयोजना निर्देशनालयका निर्देशक दीपक श्रेष्ठले परामर्शदाता कम्पनी इटेको नेपाललाई रुखको संख्या धेरै बढ्नुमा लिखित जवाफ मागेको छ । ‘हामीले रुखको संख्या फरक पर्नुको जवाफ मागेका छौं,’ उनले भने, ‘तर, जवाफ आएको छैन, कस्तो जवाफ आउँछ, त्यसपछि नै थप निर्णय लिनेछौं ।’ प्रभाव मूल्यांकनमा मात्र १७ करोडभन्दा बढी रकम खर्च भएको छ । दाउन्ने खण्डको १२ किलोमिटरमा ३ लेन मात्र हुनेछ । त्यहाँ उकालोमा गुड्ने सवारी साधनले २ लेन र ओरालोमा गुडिरहेको सवारी साधनले १ लेन प्रयोग गर्नेछन् । दाउन्ने पहाडको ८ किलोमिटर खण्डमा भने सडक २ लेन मात्र हुनेछ । सडक विस्तारका लागि रुखसँगै विद्युत्का पोलको समेत समस्या भएको छ । दुई खण्डमा गरेर ४ हजार ८ सय ३९ पोल सार्नुपर्ने र विद्युत् तार फेर्नुपर्नेछ । त्यसको लागत ७५ करोडभन्दा बढी छ । आयोजना र विद्युत् प्राधिकरणबीच पोल सार्ने लागत कसले व्यहोर्ने भन्ने विवादले पनि सडक विस्तारमा ढिलाइ भइरहेको छ । यता नारायणगढ–दाउन्ने सडक खण्डका प्रमुख सुजन अधिकारीका अनुसार बिहीबारबाट लोकाहा खण्डमा निर्माणको काम सुरु भएको छ । ‘बिहीबारबाट परीक्षणका रूपमा माटो कटिङको काम
सुरु भएको छ, पूर्वतयारी र रुखका कारण निर्माणमा ढिलाइ भएको हो,’ उनले भने ।

Page 12
अर्थ वाणिज्य

घरेलु उत्पादनले फूल आयात रोकियो

- रूपा गहतराज

(नेपालगन्ज) - आँगन हुन् या नर्सरी, जताततै सयपत्री ढकमक्क छन् । तिहार, छठलगायत चाडपर्व लक्षित गरेर हुर्काइएका सयपत्री फुलेर मगमग बास्ना आइरहेको छ । फूल व्यवसायीका लागि आम्दानीको स्रोत बनेको छ । नेपालगन्ज उपमहानगरपालिका–२१ फलोराकी बिन्दु चर्तीलाई मखमली फूल गाँस्न भ्याई–नभ्याई छ । तिहारमा मात्र ४ हजार गोटा माला बिक्री गर्ने लक्ष्य उनको छ । दुई हजार सयपत्री र त्यति नै मखमली फूलको माला बिक्री गर्ने लक्ष्यसाथ फूल खेती गरेको सुनाइन् ।
‘तिहारका बेला १६ लाख रुपैयाँ बराबरका माला बिक्री गर्ने लक्ष्य छ,’ उनले भनिन्, ‘यस पटक फूल अभाव छैन ।’ तिहारका लागि कोहलपुर, दाङ र पाल्पाबाट फूल मगाएको बताइन् । जिल्लाका विभिन्न स्थानबाट ३ सय रुपैयाँ प्रतिकिलो र पाल्पाबाट प्रतिकिलो २ सय रुपैयाँका दरले सयपत्री फूल खरिद गरेको उनले बताइन् । विन्दुले चार कट्ठामा फूल खेती पनि गरेकी छन् । अरू बेला पनि अभाव हुन नदिन उनले फूल खेती गरिरहेको सुनाइन् । सयपत्री र मखमली फूल टिप्न र माला गाँस्न जिल्लाका किसान अहिले व्यस्त छन् । केही वर्षअघिसम्म यस भेगका कृषकको मुख्य आयस्रोत फूल खेती थिएन । अहिले ह्वात्तै व्यवसायप्रति कृषकको आकर्षण बढेको छ । यहाँका किसानले घरमा यहाँ अहिले सयपत्रीको प्रतिमाला १ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । मखमली फूल गोटाका दरले मूल्य तोकेर बिक्री हुन्छ । यसरी सयपत्रीप्रति किलो ३ सय रुपैयाँमा खरिद बिक्री हुन्छ । तर, मखमली एउटा फूलका आधारमा बिक्री हुने गरेको छ ।
बाँके तथा अन्य जिल्लामा फूलको उत्पादन बढेपछि भारतीय फूल आयात हुन छाडेको छ । यस वर्ष सयपत्री र मखमली फूल बाँकेमा नआएको हिमाली नर्सरीका अंकित श्रेष्ठले बताए । ‘हामीले मात्र झन्डै पाँच क्विन्टल सयपत्री फूल बजारमा पठाएका छौं,’ उनले भने, ‘यस वर्ष मात्र दाङ, सुर्खेत, प्यूठानलगायत जिल्लामा १ लाख रुपैयाँ बढीको फूल पठाउँदै छु ।’


भारतीय भित्रिएन
नेपालगन्ज नाकाबाट मखमली र सयपत्री फूल अहिलेसम्म नभित्रिएको नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । नेपालगन्ज नाकाबाट आर्टिफिसियल (कृत्रिम) माला आयात भए पनि सयपत्री र मखमली फूलका माला नआएको बताए । आव ०७४/७५ मा ४ लाख ५६ हजार ६ सय ९४ र आव ०७५/७६ मा ५ लाख ८९ हजार ८ सय ३३ रुपैयाँ बराबरको प्लास्टिकका कृत्रिम माला नेपाल भित्र्याइएको थियो । ‘वैधानिक रूपमा सयपत्री, मखमलीलगायत अन्य फूल नेपालगन्ज नाका भएर आएको देखिएन,’ उनले भने, ‘स्थानीय बजारले पर्याप्त उत्पादन गरेको देखियो ।’ तर, भारतीय व्यापारीले साइकलमा राखेर ल्याउने सयपत्री र मखमली फूलको व्यापार भने नियन्त्रण हुन सकेको छैन । भारतीयले त्रिभुवन चोक, धम्बोझी चोक, वागेश्वरी मन्दिर क्षेत्रका सडकमा फूलको माला राखेर बिक्री गर्दै आएका छन् ।

अर्थ वाणिज्य

बालुवाको पहाडमा फस्टाउँदो तरकारी खेती

- घनश्याम खड्का
उपल्लो मुस्ताङको लोमन्थाङमा तरकारी खेतीका लागि निर्माण गरिएको प्लास्टिक घर ।तस्बिर ः घनश्याम/कान्तिपुर

(म्याग्दी) - कुनै जमाना थियो, उपल्लो भेगका मुस्ताङी जाडो छल्न बेंसी झरेका बेला मात्र काउली, बन्दा, टमाटर, काँक्राजस्ता तरकारी देख्न र खान पाउँथे । जाडो सकिएपछि खाद्यान्नसँगै १५–२० दिनको बाटोमा तरकारी बोकेरै लैजान्थे ।
यतिबेला भने अवस्था फेरिएको छ । मौसम र तापक्रमको सन्तुलन मिलाएर गरिने (हरित गृह) खेती प्रणाली उपल्लो मुस्ताङमा भित्रिएपछि स्थानीयको भान्सा फेरिएको छ । आलुबाहेक अन्य तरकारी नहुने लोमन्थाङ र वरपरका बस्तीमा यतिबेला प्लास्टिको घरभित्र गरिने तरकारी खेती प्रभावकारी बनेको छ । छाया वृष्टि हुने सुख्खा तर चिसो हावापानी भएको बालुवाले ढाकेका फुस्रा पहाडका बीचमा पनि तरकारी फल्दा स्थानीय दंग छन् ।
हावापानी तथा वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउने प्लास्टिको घर प्रतिकूल मौसम (चिसो हावापानी) भएका मुस्ताङको उपल्लो क्षेत्रमा प्रभावकारी बनेको हो । प्लास्टिक घरमा जलवायु अनुकूलन बनाई तरकारी खेती सुरु गरिएपछि परम्परागत खेती प्रणालीमा उथलपुथल भएको छ । बेंसीका बस्तीमा मात्र देखेका काउली, ब्रोकाउली, बन्दा, टमाटर, काँक्रो, मुला, जुकेनी, गाजर आदि तरकारी हिजोआज वर्षको अधिकांश महिना हिउँले छोप्ने बालुवाका पहाडमा लटरम्म फलेका छन् । ‘प्लास्टिक घरमा तरकारी खेती वरदानै भएको छ । हाम्रो दैनिक भान्साको परिकार नै फेरिएको छ,’ लोमन्थाङका ६६ वर्षीय फेङ्दो गुरुङले भने, ‘आफ्नै बारीमा यस्ता हरिया तरकारी फल्ला र खाउँला भन्ने सपना पनि देखेको थिइनँ । आज छक्क परेको छु ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), साविकको कृषि विकास कार्यालयले ६ वर्षअघि उपल्लो मुस्ताङमा प्लास्टिक टनेल भित्र्याएको हो । प्लास्टिक घरमा तरकारी खेती गर्न थालेको ३ वर्षमै उपल्लो भेगका चराङ, घमी, लोमन्थाङ, छोसेरमा उत्पादन भएका तरकारी स्थानीयको भान्सामा मात्र होइन पर्यटकको जिब्रोमा पनि पुग्न थालेको छ । यी गाउँमा यतिबेला प्लास्टिकका टनेलभित्र लोभलाग्दो गरी लटरम्म टमाटरसमेतको तरकारी फस्टाएको छ । प्लास्टिक घर बनाउन गाउँपालिका र एक्यापले अनुदान दिने गरेका छन् ।
मोटर बाटोसँगै तरकारी खेतीले स्थानीयको दैनिक जीवनमा परिवर्तन आउन थालेको छ । उपल्लो मुस्ताङका हरेक बस्तीका कृषकले प्लास्टिक घरमा तरकारी खेती गर्छन् । जलवायु परिवर्तनले तापक्रम बढेपछि उपल्लो मुस्ताङका बारीमा रायो र मुलाको खेती हुन थालेको छ ।

अर्थ वाणिज्य

नियन्त्रण गर्न रेस्पोन्स टिम

- प्रदीप मेन्याङ्बो

(सुनसरी) - प्रदेश १ का तराईका जिल्लाहरूमा फैलँदो रैथाने र अमेरिकन फौजी किरा नियन्त्रण गर्न फल आर्मी वर्म रेस्पोन्स टिम (एफएडब्लूआरटी) गठन गरिएको छ । भदौ पहिलो साता प्रदेश १ का पहाडी जिल्लामा लगाइएको मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएको एक महिनापछि असोज तेस्रो सातादेखि सुनसरी, मोरङ, झापा, उदयपुरका विभिन्न ठाउँमा लगाइएका धानखेतीमा रैथाने फौजी किराको प्रकोप बढेकाले रेस्पोन्स टिम गठन गरिएको हो ।
लगाएको धानबाली नष्ट भएपछि प्रदेश १ का करिब ७ सय घरधुरी प्रभावित भएका छन् । पाक्न लागेको धानबालीमा फौजी किराको प्रकोप देखापरेपछि स्थानीय किसानहरू चिन्तित देखिएका छन् । फौजी किराको त्रासले कतिपय किसानले धान पाक्न दुई साता बाँकी रहँदै हरियो अवस्थामै काटेर थन्क्याउन थालेका छन् ।
असार–साउनमा रोपेको धानबाली पाकेर थन्क्याउनले बेलामा धानखेतीका लागि मुलुककै उर्वर जिल्लाहरूमा फौजी किराको प्रकोप बढेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विमलकुमार निर्मलको अध्यक्षतामा रेस्पोन्स टिम गठन गरिएको हो । प्रदेश १ का कृषि विकास निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीका अनुसार फौजी किराको प्रकोप नियन्त्रण गर्न बुधबार झापा, मोरङ सुनसरी, उदयपुर, धनकुटा र तेह्रथुमका स्थानीय तहका ४७ जना कृषि प्राविधिकहरूलाई सामूहिक प्रशिक्षणसमेत दिइएको छ ।
कात्तिक पहिलो साता मात्र अमेरिकन फौजी किराले झापाको ११ स्थानीय तहका २ सय ८३ हेक्टरमा लगाएको धानबाली नस्ट गरिदिएको छ । झापाको कन्काई नगरपालिकामा ४५ हेक्टर, कमल नगरपालिकामा २४ हेक्टर, बारदशी गाउपालिकामा २४ हेक्टर, अर्जुनधारा नगरपालिकामा २४ हेक्टर, कचनकवल गाउँपालिकामा ३० हेक्टर, गौरीगजन्ज गाउँपालिकामा ४९ हेक्टर, शिवसताक्षी नगरपालिकामा १९ हेक्टर, झापा नगरपालिकामा १५ हेक्टर, गौरादह नगरपालिकामा ८० हेक्टर, हल्दिबारी नगरपालिकामा १०२ हेक्टर र भद्रपुर नगरपालिकामा १० हेक्टर धानखेतीमा रैथाने फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले झापा मात्र ४ सय २२ घरधुरी प्रभावित भएका छन् ।
बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठले सुनसरीमा धरान उपमहानगरपालिका र बराह क्षेत्र नगरपालिकामा ६५ घरधुरीका ७७ हेक्टर धानबालीमा फौजी किराको प्रकोप देखिएको बताइन् । उदयपुरको चौदण्डीगढी नगरपालिकामा १५ हेक्टर, त्रियुगा नगरपालिकामा १०६ हेक्टर, बेलका नगरपालिकामा २० हेक्टर गरी १४१ हेक्टरमा फौजी किराले धानबाली नष्ट पारेको श्रेष्ठले बताइन् । सबैभन्दा कम मोरङको सुनवर्षी नगरपालिकामा १२ हेक्टरमा फौजी किराको प्रकोप देखिएको पनि उनले बताइन् । उनले भनिन्, ‘धानबालीमा रैथाने फौजी किरा देखिएको छ भने यसअघि भदौमा प्रदेश १ का पहाडी भेगमा लगाइएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको देखिएको थियो ।’ उनका अनुसार ओखलढुंगामा ५ सय हेक्टर, भोजपुरमा २ सय ८९ हेक्टर, उदयपुरमा २२ हेक्टर, पाँचथरमा १ हजार ३ सय ४५ हेक्टर, खोटाङमा २ सय २२ हेक्टर, धनकुटामा १ सय ८१ हेक्टर, तेह्रथुमम १ सय ४८ हेक्टर गरी २ हजार ७ सय १० हेक्टर मकैबाली अमेरिकन फौजी किराले नष्ट बनाएको थियो ।
श्रेष्ठले भनिन्, ‘धानबालीमा फौजी किरा नियन्त्रण गर्ने प्रयास भइरहेको छ । स्थानीय तहका कृषि प्राविधिकहरूलाई फौजी किराको पहिचान गर्ने तरिका, नियन्त्रण र व्यवस्थापन तालिम दिएर कृषि विकास निर्देशनालय बाली संरक्षण प्रयोगशाला र कृषि ज्ञान केन्द, केही स्थानीय तहमा रहेका कृषि विकास इकाईहरूबाट निःशुल्क रूपमा विषादी वितरण गरिरहेका छौं ।’
कृषि विकास निर्देशनालयले रैथाने र अमेरिकन फौजी किरा नियन्त्रण गर्न चुनौती बन्दै गएको जनाएको छ । किसान, कृषि प्राविधिकहरू खेती बाली लगाउने बेलामा र लगाइसकेपछि चनाखो हुनुपर्ने भएको छ । नियन्त्रण गर्न नसके अन्न बाली सखाप भएर भोकमरी, महँगी र अभाव सिर्जना हुन सक्ने भएकाले चिन्ता थपिएको बाली संरक्षण अधिकृत श्रेष्ठले बताइन् । उनले भनिन्, ‘कृषकहरू आफ्नो बालीप्रति आफैं सचेत हुनसक्दा रैथाने र अमेकन फौजी किरा नियन्त्रण गर्न सहज हुन्छ ।’

अर्थ वाणिज्य

प्राइमको नयाँ शाखा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्राइम कमर्सियल बैंक लिमिटेडल टोखा नगरपालिकामा नयाँ शाखाको सुरुवात गरेको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउने आशा राखेको छ । 

अर्थ वाणिज्य

ग्लोबल आईएमई–जनता बैंक सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ग्लोबल आईएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । शुक्रबार आयोजित एक समारोहबीच आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

अर्थ वाणिज्य

शिवम्को सेयर निष्कासन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसकेपछिको सेयरधनीहरूमा १५ प्रतिशत सेयर निष्कासन गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा शुक्रबार सम्पन्न चौथो वार्षिक साधारणसभाले उक्त निर्णय पारित गरेको हो ।

अर्थ वाणिज्य

डोल्पामा नेपाल लाइफ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा सञ्चालनमा ल्याएको छ । एक समारोहबीच बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शाखाको उद्घाटन गरेका थिए । अध्यक्ष चापागाईले बिमाको महत्त्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बिमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरेका थिए ।

Page 13
समाचार

९० हजारको विवरण उपयोगका लागि तयार

राष्ट्रिय परिचयपत्र
- ऋषिराम पौड्याल

(काठमाडौं) - राष्ट्रिय परिचयपत्र प्राप्त गरेका ९० हजार जनाको व्यक्तिगत विवरण सार्वजनिक निकायले उपयोग गर्न सक्ने ‘डाटा सेन्टर’ तयार भएको छ । विवरण संकलन र प्रशोधन गरिरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सार्वजनिक निकायले माग गरेमा अब जुन सुकैबेला उक्त विवरण उपलब्ध गराउन सक्छ । विभागका निर्देशक शिवराज जोशीका अनुसार पाँचथरका सर्वसाधारण र सिंहदरबारका कर्मचारीलाई नमुनाका रूपमा वितरित परिचयपत्रका आधारमा ९० हजारको विवरणलाई प्रशोधन गरेर उपयोग गर्न सक्ने बनाइएको हो । राज्यबाट प्राप्त गर्ने सेवा सुविधा र राष्ट्रिय विकास योजना एवं सुरक्षा व्यवस्थासँग आबद्ध गर्ने उद्देश्यले सरकारले सबै नागरिकको पहिचान झल्कने गरी परिचयपत्र वितरण गर्न लागेको हो ।
अदालत, प्रहरी, बैंक, वित्तीय संस्था वा कुनै पनि सार्वजनिक निकायलाई व्यक्तिको पहिचानका लागि यस्तो विवरण सम्बन्धित निकायले उपलब्ध गराउन सक्ने भएको छ तर जुन निकायका लागि जे आवश्यकता भएको हो, उसलाई सोही विवरण मात्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यस्तो निकायले व्यक्तिको सबै विवरण भने पाउनेछैनन् । विवरण प्रदान गर्दा व्यक्तिको वैयक्तिक गोप्यतालाई भने ख्याल गरिने जोशीले बताए । ‘माग गर्ने सार्वजनिक निकायलाई अब प्रक्रिया पुर्‍याएर विवरण दिन सक्छौं,’ उनले भने, ‘बायोमेट्रिक डाटाको अभिलेख बाहेकको माग भएअनुसारको रेकर्ड हेरेर प्रमाणित गर्न सकिन्छ ।’
सरकारले २०६६ देखि सुरु गरेको परिचयपत्र वितरणको कार्यक्रमअन्तर्गत हाल १५ जिल्लाबाट व्यक्तिगत विवरण संकलन भइरहेको छ । जोशीका अनुसार चालु आर्थिक वर्ष सात प्रदेशका केन्द्र, काठमाडौं र भक्तपुरमा विवरण संकलन गर्ने कार्यक्रम छ । क्रमशः सबै जिल्लामा विवरण संकलन गरी तीन करोडको व्यक्तिगत सूचना अटाउने केन्द्रीय ‘डाटा सेन्टर’ तयार गर्न लागिएको छ । उक्त सेन्टरको विवरणलाई अझ बढी सुरक्षित बनाउन हेटौंडामा प्राकृतिक प्रकोप डाटा सेन्टर (डीआरसी) निर्माण भइरहेको छ । डाटालाई सुरक्षित राख्न सरकारले आफ्ना सबै महत्त्वपूर्ण विवरण राख्न ‘ब्याक–अप’ का रूपमा उक्त ‘डाटा सेन्टर’ बनाउन लागेको हो । परिचयपत्र छाप्न, सफ्टवेयर तयार गर्न र सबै जिल्लामा कार्यक्रम लागू गरेर परिचयपत्र वितरण गर्न करिब ७ अर्ब ५० करोड खर्च हुने अनुमान छ ।


परिचयपत्रको उपयोगलाई अझ व्यवस्थित बनाउन कानुन बनाउने क्रममा संघीय संसद्को दुवै सदनले राष्ट्रिय परिचयपत्र वितरण र पञ्जीकरणसम्बन्धी विधेयक पारित गरिसकेको छ । विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । व्यक्तिगत विवरणलाई सबै सार्वजनिक सेवामा जोड्दै लैजाने उद्देश्यअनुसार सबै जिल्लाका प्रत्येक नागरिकलाई परिचपत्र प्रदान गर्ने तयारी गरिएको छ । परिचयपत्रमा उल्लेख गरिने व्यक्तिको विवरण पहिचानका उपयुक्त आधार हुनेछ । परिचयपत्रमा दृश्य (बाहिरी) र भित्री भागमा विवरण उल्लेख गरिनेछ । कुनै व्यक्तिले एकपटक उपलब्ध गराएको बायोमेट्रिकसहितको विवरण आफूखुसी परिवर्तन गर्न वा ढाँट्न नसक्ने व्यवस्था गरिएको छ । पारित भएको विधेयकमा उल्लेख भएअनुसार चिप्ससहितको परिचयपत्रको भित्री भागमा व्यक्तिको सबै विवरण उल्लेख गरिनेछ । बाहिरी भागमा भने नाम थर, ठेगाना, फोटो, राष्ट्रियता, नागरिकता नम्बर, लिंग, जन्ममिति, परिचयपत्र नम्बर मात्र उल्लेख गरिनेछ । भित्री भागमा भने बाहिर उल्लेख भएका विवरणसहित जैविक (बायोम्याट्रिक) र तीनपुस्ते विवरण, पेसा, शैक्षिक योग्यता, जात, धर्मलगायतका विषय राखिनेछ । विवरणहरू व्यक्तिको अनुरोधमा थप्दै लैजान सकिनेछ तर थपिने विवरण ठीक हो, होइन तोकिएको निकायले प्रमाणित गर्नुपर्नेछ । भित्री भागमा राखिएका विवरण भने सम्बन्धित व्यक्तिले प्राप्त गर्ने कोड नम्बरको सहयोगमा हेर्न सकिन्छ । बाहिरी भागको विवरण र बायोमेट्रिक डाटाको अभिलेख छुट्टाछुट्टै राखिनेछ ।
भविष्यमा राहदानी, प्यान नम्बर, सामाजिक सुरक्षा कार्यक्रम, लाइसेन्स, कर कार्यालय, कम्पनी दर्ता वा यस्ता प्रकृतिका सवै निकायमा सम्बन्धित व्यक्तिको परिचयपत्र नम्बर राख्ने योजनाअनुसार कानुन निर्माण गरिनेछ । सबै निकायमा यो नम्बर ‘इन्ट्री’ भइसकेपछि सम्बन्धित व्यक्तिको विवरण हेर्न र खोज्न सहज हुनेछ । आफ्नो विवरण कसले हेर्‍यो भन्ने सम्बन्धित व्यक्तिलाई थाहा पाउने व्यवस्था गरिएको छ । तत्काल सीमित ठाउँमा प्रयोग भए पनि भविष्यमा कुनै व्यक्तिले आफ्नो विषयमा गलत सूचना दिएर झुक्याउने सम्भावनाको अन्त्य हुन्छ ।

Page 14
समाचार

रातको सफारी घातक

ऐनअनुसार पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र रातको समयमा सफारी वा अन्य सवारीसाधन चलाउन पाइँदैन ।
- अब्दुल्लाह मियाँ
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा दिउँसो जिप सफारीमा पर्यटक । फाइल तस्बिर ः कान्तिपुर

(काठमाडौं) - सौराहामा पर्यटकलाई थप आकर्षित गर्न भन्दै क्षेत्रीय होटल संघ चितवन सौराहाले ल्याएको रात्रिकालीन जिप सफारीको अवधारणा यतिबेला बहसको विषय बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र राति पर्यटकलाई जिपमा घुमाउने भनिएको उक्त योजनालाई वन्यजन्तुविज्ञहरूले गर्नै नहुने भनेका छन् । उनीहरू भन्छन्, ‘यसले चितवनको पर्यटकीय आकर्षणको ब्रान्ड समाप्त हुन्छ ।’
रात्रिकालीन जिप सफारीको अवधारणा अव्यावहारिक र कानुनविपरीत पनि देखिएको छ ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र रातको समयमा सफारी वा अन्य सवारीसाधन चलाउन पाइँदैन । चितवन राष्ट्रिय निकुञ्ज नियमावली २०३० को दफा १८ मा सूर्यास्तदेखि सूर्योदयसम्म निकुञ्जभित्र पस्न र हिँड्डुल गर्न नपाइने प्रावधान छ । ऐनमा ‘होटल, लज वा तोकिएको क्याम्प, स्थानमा बाहेक संरक्षक (वार्डेन) को लिखित अनुमतिबिना प्रवेश गर्न नपाइने’ उल्लेख छ । मध्यवर्ती क्षेत्रमा पनि निकुञ्जको संरक्षक (वार्डेन) को अनुमति नलिई कुनै गतिविधि गर्न पाइँदैन ।
वन मन्त्रालयका पूर्वसचिव उदयराज शर्माले मध्यवर्ती क्षेत्रभित्र सफारी गराउँदा केही पैसा आर्जन हुने भए पनि वन्यजन्तुको हबका लागि विश्वमै चितवनले कमाएको ब्रान्ड मासिन सक्ने चिन्ता व्यक्त गरे । ‘यसरी मास टुरिजममा केन्द्रित हुँदा वाइल्डलाइफ सफारीका लागि कमाएको ख्याति गुम्न सक्छ,’ उनले कान्तिपुरसित भने, ‘जुन उद्देश्यका लागि नाम कमाएको छ त्यसको
बचाउ गर्नुपर्छ ।’
गत आर्थिक वर्ष २०७५/७६ मा अहिलेसम्मकै सबभन्दा बढी एक लाख ८५ हजार ६ सय ४४ जना पर्यटकले चितवन निकुञ्ज भ्रमण गरेका थिए । वाइल्डलाइफ सफारीका लागि चितवन विश्व विख्यात छ । बाघ संरक्षणमा विश्वमै उदाहरणीय बनेको भन्दै चितवन निकुञ्जले विगतमा प्रतिष्ठित संस्थाहरूबाट अन्तर्राष्ट्रिय उपाधिसमेत पाएको छ ।
एकसिंगे गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली रातको समयमा सफारी चलाउनुअघि त्यसले वन्यजन्तुका विभिन्न पाटाहरूमा पार्ने असरबारे अध्ययन गर्नुपर्ने तर्क गर्छन् । ‘रातको समयमा विचरण गर्ने वन्यजन्तुमध्ये धेरै प्रजाति चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पनि पाइन्छन्,’ उनी भन्छन्, ‘राति सफारी चलाउँदा वन्यजन्तुले कस्तो रेस्पोन्स गर्छन् र तिनको जीवनचक्रमा कस्तो असर पर्छ भन्ने अध्ययन आवश्यक छ ।’
पछिल्ला केही वर्षयता दिउँसै निकुञ्जभित्रबाट ठूला वन्यजन्तु हात्ती, गैंडा र बाघ मानवबस्तीमा निस्कने क्रम बढेको छ । वन्यजन्तुले मान्छेलाई आक्रमण गरेर घाइते बनाएका, ज्यानै लिएका र वन्यजन्तुमाथि आक्रमण गरिएका घटना पनि छन् । यस्तो परिवेशमा रातको समयमा सफारी चलाउँदा झनै समस्या आउन सक्ने विज्ञहरूको सुझाव छ । चितवन निकुञ्जका पूर्वप्रमुख संरक्षणकर्मी रामप्रित यादव रातको समयमा सफारी चलाउँदा वन्यजन्तुलाई ‘डिस्टर्ब’ हुने तर्क गर्छन् । ‘यसै पनि पर्यटक निकुञ्जका वन्यजन्तु हेर्न आकर्षित भइरहेका छन्,’ उनी भन्छन्, ‘अनाहकमा किन राति सफारी चलाउनुपर्‍यो ? ’ हात्तीमा विद्यावारिधि गरेका निकुञ्जका पूर्वप्रमुख नरेन्द्रमानबाबु प्रधान रातको समयमा सफारी चलाउँदा केही पैसा आर्जन भए पनि त्योभन्दा बढी क्षति र जोखिम व्यहोर्नुपर्ने औंल्याउँछन् । ‘बाघ, चितुवा, रातको समयमा सक्रिय हुन्छन्, रातको समयमै आहार खोज्छन् खान्छन्’ प्रधान भन्छन्, ‘दिउँसो सक्रिय हुने वन्यजन्तु राति आराम गर्छन् । त्यस्तो अवस्थामा सफारीले अवरोध हुन सक्छ ।’ एक वर्षअघि चितवन निकुञ्जमा थोरै गाडी चल्ने र धेरै चल्ने सडकमा स्वचालित क्यामेरा राखेर अध्ययन गरिएको थियो । ‘अध्ययनले धेरै गाडी चल्ने जगतपुर–कसरा–माडी सडक क्षेत्रमा बाघले हिँड्डुल नगरेको देखियो,’ उनले भने, ‘थोरै मात्र गाडी चल्ने र कहिलेकाहीँ चल्ने भित्री भागमा बाघले धेरै ओहोरदोहोर गरेको पाइयो ।’
निकुञ्जका पूर्वप्रमुख कमलजंग कुँवरले रातको समयमा सफारी चलाए अँध्यारोमा विचरण गर्ने वन्यजन्तु र चराको जीवनचक्रमा नकारात्मक असर पर्ने व्याख्या गरे । ‘रातको समयमा चोरीसिकारको सम्भावना पनि त्यत्तिकै छ,’ उनी भन्छन्, ‘बासस्थानमा असर परेको महसुस गर्दै वन्यजन्तुले मान्छेमाथि आक्रमण गर्न सक्ने अवस्था पनि हुन्छ । त्यसैले हचुवामा निर्णय गर्नु हुँदैन ।’ काठमाडौं व्यावहारिक विज्ञान प्रतिष्ठानका वैज्ञानिक प्रकाश पौडेलले अफ्रिकी मुलुकपछि वन्यजन्तुको घनत्व बढी भएको निकुञ्जमा अध्ययनबिना चौबीसै घण्टा सफारीलगायतका गतिविधि सञ्चालन गर्दा ठूलो असर पर्ने बताउँछन् । ‘अनावश्यक गतिविधि सञ्चालन हुँदा आहारविहार, बासस्थान खलबलिने र मिचाहा प्रजातिका वनस्पतिको विस्तार हुन सहयोग पुग्ने हुन्छ,’ उनले भने ।
क्षेत्रीय होटल संघ सौराहाले रातको समयमा त्यसरी सफारी चलाउन सके सन् २०२० को भ्रमण वर्षमा सौराहा क्षेत्रमा धेरै पर्यटक भित्र्याउन सकिने भन्दै योजना अघि सारेको हो । अध्यक्ष दीपक भट्टराई सौराहाबाट कुमरोज सामुदायिक वन हुँदै राप्ती नदीको किनारैकिनार लोथरसम्म राति सफारी चलाउँदा वनक्षेत्र र वन्यजन्तुमा असर नहुने दाबी गर्छन् । ‘पर्यटकलाई भुलाउन बेलुकी ५ बजेपछि सफारी चलाऔं भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘बस्तीको छेउछाउ र कहीँकहीँ सामुदायिक वन हुँदै जाने भएकाले त्यति धेरै वन्यजन्तुलाई असर पर्दैन ।’
तिहारलगत्तै सफारीको परीक्षण गर्ने योजना रहेको उनले बताए । बस्ती छेउछाउ भएर सफारी गरिने उनले बताए पनि बस्तीको बायाँ एकातिर मध्यवर्ती सामुदायिक वन र दायाँतिर निकुञ्ज क्षेत्रको कोर एरिया र राप्ती नदी पर्छ । राप्ती नदी र आसपास पानीका घोल छन् । ती घोलमा प्रशस्त गैंडा बस्छन् । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले जिप सफारीले आयआर्जन वृद्धि हुने तर्क गर्दै आएको छ । सन् २०१५ को गणनाअनुसार चितवनमा ६ सय ५ गैंडा छन् । चितवनमा ९३ बाघ छन् ।
भ्रमण वर्ष, मन्त्री, सचिव, विभागीय प्रमुख र निकुञ्ज प्रमुख फेरबदल भएका बेला चितवन निकुञ्जमा नयाँ–नयाँ विषयले प्राथमिकता पाउने गरेको छ । सन् २०११ को भ्रमण वर्षमा पनि चितवन निकुञ्जभित्र बन्द गरिसकिएका होटल सञ्चालन गर्न तत्कालीन वनमन्त्री दीपक बोहराले सहमति दिएका थिए । चितवन निकुञ्जमा उपसचिव नारायण रूपाखेती प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) भएर काम सुरु गरेको २६ दिन भएको छ । ‘विगतदेखि नै हाकिम फेरिएको बेलामा चितवनमा तरंग ल्याउन नयाँ योजना अघि सारिन्छ,’ रूपाखेतीले भने, ‘संरक्षणमा धक्का लाग्नेगरी कुनै काम गर्नु हुँदैन भन्ने हाम्रो मान्यता छ ।’ रातको समयमा गरिने सफारीबारे विश्वमा भएका अभ्यास, अनुसन्धान, वन्यजन्तु देख्न सक्ने/नसक्ने, सुरक्षाको प्रत्याभूति, चोरीसिकार नियमनको रणनीति र आवश्यक कानुनबिना हचुवामा अघि सारिएका योजना कल्पनै गर्न नहुने उनको भनाइ छ ।
निकुञ्ज विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले ऐन–नियमावली र चितवन निकुञ्जको ५ वर्षे व्यवस्थापन योजनामा पनि रातको समय (सूर्यास्तदेखि सूर्योदयसम्म) मा निकुञ्ज प्रवेश निषेध गरिएकाले रातको सफारी असम्भव भएको तर्क गरे ।

समाचार

१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ

- मेनुका ढुंगाना

(अछाम) - अछाममा सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वास्थ्यकर्मी स्तब्ध छन् । रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सञ्चो भएन । चौथो पटक सुई लगाउन एक दिन पैदल दूरीको बयालपाटा मिसन अस्पतालमा पुर्‍याइएपछि उनको गर्भ रहेको खुलेको हो ।
‘कुकुरले टोकेर सुई लगाउन अस्पताल ल्याएको थिएँ,’ बालिकाका बुवाले भने, ‘छोरीको पेट किन सुन्नियो डाक्टर साब हेरिदिनुस् भनेँ । डाक्टरले जाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसेजस्तो भएँ ।’ मिसन अस्पतालले प्रहरीको स्थानीय युनिटसँग परामर्श गरेपछि उनलाई मंगलसैनस्थित जिल्ला अस्पताल रिफर गरेको थियो । उनीमाथि बलात्कार भएर गर्भ रहन गएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
‘नाबालक, त्यसमाथि सुस्तमनस्थितिकी । यो गम्भीर घटना हो,’ अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले भने, ‘बालिकाले सुरुमा नाम पोलेका एक बालकलाई नियन्त्रणमा लिएका छौं । उनले अरू ४/५ जना केटाहरूको नाम लिइरहेकी छन् । उनीहरूलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं ।’
बालिकाले विभिन्न समयमा फरक–फरक केटाहरूको नाम लिइरहेको उनले बताए । ‘बालिकाकी आमा पनि सुस्तमनस्थितिकी रहिछन्, बाबु पनि अनुसन्धानमा सघाउन सक्ने प्रकारको उति चलाख छैनन्,’ उनले भने, ‘घटनालाई हामीले गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएका छौं ।’
दायाँ खुट्टामा कुकुरले टोकेको घाउ भएकी ती बालिकालाई हाल जिल्ला अस्पतालमै राखिएको छ । गत वैशाखमा पहिलो पटक महिनावारी भएको थियो । त्यसयता महिनावारी रोकिए पनि परिवारले उनको ध्यान पुर्‍याउन नसकेको खुलेको छ ।
उनको स्वास्थ्य अवस्था स्थिर रहे पनि परामर्श र स्याहार जरुरी रहेको जिल्ला अस्पतालकी नर्स रञ्जना अधिकारीले बताइन् । ‘घटनाक्रम प्रस्ट भन्न सक्ने भइदिएको भए सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई पनि सजिलो हुन्थ्यो होला,’ उनले भनिन्, ‘यस्तो घटना अछाममा पहिले सुनिएको थिएन ।’ अनुसन्धान सुरु भएकाले बालिकाको गर्भका विषयमा अस्पतालले निर्णय लिन नसकेको डा. मनोज विष्टले बताए । ‘वैधानिक रूपमा २२ हप्तासम्मको गर्भपतन गर्न मिल्छ । तर यो केस नै फरक छ,’ उनले भने, ‘के गर्ने भन्नेबारे प्रस्ट हुन समय लाग्छ ।’
बालिकाको जीवन रक्षा र कानुनी उपचारका लागि सघाउने रामारोशन गाउँपालिकाकी अध्यक्ष सरस्वती रावलले बताइन् । ‘जे गर्ने हो हामी डाक्टरको परामर्शका आधारमा अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘गर्भ कसरी रहन गएको हो, दोषी को हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेकाले पत्ता लाग्छ । कानुनी उपचारमा हामी सघाउँछौं ।’
जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २२ हप्तासम्मको गर्भ भएमा अन्यथा अरू अवस्थाका अनिच्छित १२ हप्ता ननाघेको गर्भपतन गर्न मिल्ने कानुनी व्यवस्था छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १२ हप्तासम्मको गर्भपतन पाउने व्यवस्था छ । तर यी बालिकाको हकमा अहिले नै के गर्न सकिन्छ भन्नेबारे सल्लाह भइरहेको सरोकारवाला बताउँछन् ।

Page 15
खेलकुद

खेलाडीको चिन्ता सामाजिक सुरक्षा

- कुशल तिमल्सिना
रोगग्रस्त पूर्व खेलाडी वाईबी घलेलाई शुक्रबार खेलाडी संघ यूकेको तर्फबाट २ लाख सहयोग हन्तान्तरण गरिँदै । तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - दुई साताअघि सिंगापुर र ओमानमा आयोजित ट्वान्टी–२० शृंखलामा पराजित भएपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले खेलाडीको सामाजिक सुरक्षा मुद्दा उठाएका थिए । यो आवाज उठाउने उनी एक्ला होइनन् । खेलकुद प्राथमिकतामा नपरेको नेपालजस्तो हरेक विकासशील देशमा आवाज उठ्ने तर कार्यान्वयन नहुने विषय हो खेलाडीको सुरक्षा ।
जीवनको ऊर्जाशील समय राष्ट्रिय झण्डामुनि रहेर अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्बन्धित देशको ‘ग्लोबल एम्बासडर’ पनि भनिन्छ । तर उनीहरूको समस्यामा सरोकार संस्थाले अपेक्षाकृत सहयोग नगरिदिँदा खेलप्रति युवाको आकर्षण स्वाभाविक रूपमा कमजोर बनिरहेको छ ।
नेपालमा त्यस्ता धेरै उदाहरण छन् । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका कोही सप्तरीमा बालुवा चालिरहेका छन् ।कोही नेपालगन्जमा होटलमा काम गर्छन् भने पहुँच भएकाहरू विदेश पलायन भएका छन् । अनि केही चाहिँ अस्वस्थताका कारण क्रियाशील समयमा गरेको योगदानको स्मरणमा दुःखका दिन काटिरहेका छन् । यस्तै एउटा प्रतिनिधिपात्रका रूपमा छन्, ११ वर्षदेखि आधा हर (देब्रे अंग) को भरमा जीवन धानिरहेका वाईबी घले ।
नेपालका पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता को हुन् ?, वाईबी (यामबहादुर) घले । हाजिरीजवाफमा सोधिने उल्लेखित प्रश्न र आउने उत्तर सुन्दा जति गर्व लाग्छ त्यसविपरीत निरास जीवन व्यतित गरिरहेछन् घले । ३६ वर्षअघि यी जादुयी मिडफिल्डरले भारतको जवाहरलाल नेहरू रंगशालामा कुवेतविरुद्ध गरेको गोल नेपाली टिमले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । भर्खरै अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेको नेपाली टिममार्फत एसियाली खेलकुदमा त्यो इतिहास कोरिएको थियो । त्यसयता ८ वर्षसम्म उनी राष्ट्रिय टोलीमै रहेर योगदान गरेका वाईबीले नेपाललाई दक्षिण एसियाली च्याम्पियन पनि बनाए, सन् १९८४ मा ।
५० वर्षको उमेरमा प्यारालाइसिस भएयताको ११ वर्ष घलेले भोगेका दुःख भनिसाध्य छैन । यसबीचमा उपचारका लागि भएको खर्चबारे लेखाजोखा छैन । ‘ऋण लागोस्, दिन नलागोस्’ भन्ने नेपाली उक्ति त्यसै बनेको होइन । प्यारालाइसिसको समस्या त छँदै छ त्यसमा हालै उनलाई गल ब्लाडर र पत्थरीको समस्याले थिच्यो । दुवैको शल्यक्रिया गरेको ४ महिनामात्र भयो । उमेरले ६१ छोएका उनको शरीर थप जर्जर बनेको छ ।
‘वाईबीजस्ता कीर्तिमानी खेलाडीले उपचार खर्चका लागि याचना गर्नुपर्ने दिन आउनु हुँदैनथ्यो,’ शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ यूके शाखाले संकलन गरेको २ लाख रुपैयाँ घलेलाई हस्तान्तरण गर्ने कार्यक्रममा अन्तर्राष्ट्रिय टिममेट तथा पूर्व कप्तान राजुकाजी शाक्यले प्रश्न गरे, ‘आफ्नो समयमा बाघझैं गर्जेर विदेशी भूमिमा धावा बोल्ने खेलाडीले यति निरीह हुनुपर्ने हो र ?’
भविष्यमा आफूलाई यस्तो समस्या नआओस् भनेर कामना गरेका शाक्यले खेलाडीको सामाजिक सुरक्षाका लागि सम्बन्धित खेल संघ र सरकारले पनि योजना तर्जुमा गर्नुपर्ने समय आइसकेको बताए । ‘समस्यामा परेका खेलाडीलाई सरकारीस्तरबाटै जीवन निर्वाह खर्च र निःशुल्क स्वास्थ्योपचार भएमा यताउताबाट माग्नुपर्ने अवस्था आउँदैन,’ उनले भने ।
घलेका लागि सहयोग संकलनको चाँजोपाँजो मिलाएका खेलाडी संघ यूके शाखाका अध्यक्ष तथा पूर्व बक्सिङ खेलाडी सिद्धार्थविक्रम क्षेत्रीले कीर्तिमानी खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी लागेको तर घलेको अवस्थामा सरोकारवालाको उदासिन हुँदा दुःख लागेको बताए । १३ वर्षदेखि लन्डनमा बस्दै आएका क्षेत्रीले दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता कृष्णमान मानन्धर, इन्द्र रानामगर, एसियाड पदक विजेता दीपक महर्जन, बक्सिङका प्रशिक्षक मञ्जुजंग शाहीलाई उपचार खर्चका लागि सहयोग गरिसकेका छन् । यो क्रम जारी रहने उनले सुनाए ।
समस्यामा परेका पूर्व खेलाडीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषदसँग मिलेर खेलाडी अक्षयकोषको स्थापना गरेको छ । संघका अध्यक्ष दीपक श्रेष्ठले आवश्यक प्रक्रिया पुर्‍याएर खेलाडीले अक्षयकोषबाट सहयोग लिनसक्ने जानकारी दिए । ‘वाईबी दाइजस्ता समस्यामा परेका खेलाडीको सहयोगकै लागि लामो प्रयासपछि हामीले अक्षयकोष स्थापना गर्न सकेका छौं । खेलकुद परिषद्को सहकार्यमा १ करोड ४० लाख रकम पुगेको छ, अब खेलाडीले थप समस्यामा पर्नु हुँदैन भन्नेमै हाम्रो चासो हो,’ अध्यक्ष श्रेष्ठले भने ।
घलेको सरोकार संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) हो । खेलाडीमात्र होइन घलेले संघको केन्द्रीय सदस्य, टेक्निकल डाइरेक्टर तथा युथ डाइरेक्टरको भूमिकामा पनि योगदान गरेका छन् । उनको सहयोगका लागि एन्फा आँखा चिम्लिएको चाहिँ होइन । यसअघि फरक फरक समयमा सहयोग भएकै हो । तर धेरैको चाहना भनेको उनीजस्ता ‘सुपरस्टार’ ले माग्ने होइन अधिकारले पाउनुपर्ने हो । ‘अघिल्लो वर्ष हामी निर्वाचित भएपछि वाईबी दाइसँग आशीर्वाद लिन पुगेका थियौं, हामीले उहाँलाई बिर्सेका छैनौं र कहिल्यै बिर्सने छैनौं,’ कार्यक्रममा एन्फाका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय कप्तान उपेन्द्रमान सिंहले भने, ‘वाईबी दाइलाई मात्र होइन समस्यामा परेका सबै फुटबलरलाई नियमित सहयोगका लागि बीमा लगायतका योजना आउने क्रममा छन्, आउने पुस्ताले उहाँलेजस्तो समस्या भोग्नुपर्दैन ।’

खेलकुद

एसियाली एमेच्योर चेस हुने

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपाल बुद्धिचाल संघले मदन भण्डारी स्पोर्ट्स एकेडेमीसँग मिलेर एसियाली एमेच्योर चेस प्रतियोगिता कात्तिक तेस्रो साता काठमाडौंमा आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय बुद्धिचाल फेडेरेसनको आधिकारिक मान्यता पाएकोमध्ये नेपालमा हुने यो ठूलो प्रतियोगिता हो ।
संघले शुक्रबार पत्रकार सम्मेलन गरी कात्तिक २२ देखि २९ सम्म काठमाडौंको पार्क भिलेज रिसोर्टमा हुने प्रतियोगिताको तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगितालाई मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप नाम दिइएको छ । प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले पनि सहयोग गरेको छ ।
एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले नेपालमा हुन लागेको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितालाई सबै मिलेर सफल पार्ने दायित्व वहन गरी सहकार्य गरेको बताए । ‘हामीसँगको सहकार्य आर्थिक स्रोतको सुनिश्चितता मात्र होइन खेलक्षेत्रमार्फत समृद्धिको सपना साकार पार्न गरिएको प्रयास पनि हो,’ पूर्वसांसद समेत रहेका अध्यक्ष श्रेष्ठले भने ।
प्रतियोगितामा एसियाका ३० देशले सहभागिता जनाउने अनुमान गरिएको छ । १ सयभन्दा बढी खेलाडीले भाग लिनेछन् । नेपालबाट महिला र पुरुषतर्फका राष्ट्रिय च्याम्पियन क्रमशः सुजना लोहनी र पुरुषोत्तम चौलागाईंले भाग लिनेछन् । अन्य प्रतिभाशाली नेपाली खेलाडीलाई अधिकतम सहभागिता गराइने संघले जनाएको छ । आधिकारिक खेलाडीको सम्पूर्ण खर्च संघले बेहोर्ने छ ।
स्विस लिग प्रणालीअन्तर्गत ९ चरणसम्म चल्ने प्रतियोगितामा क्लासिकल र ब्लिज विधामा खेल हुनेछ । प्रतियोगितामा २१ सयभन्दा कम रेटिङ भएका फिडे मास्टर उपाधि पाएकाले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा मास्टरको उपाधि नपाएले उपाधि जितेमा क्यान्डिडेट मास्टरको मान्यता पाउनेछन् । करिब १५ लाख पुरस्कार राशिको प्रतियोगितामा विभिन्न विधामा ३७ खेलाडीले पुरस्कार पाउनेछन् । प्रतियोगिता गर्न २ करोड ३१ लाख खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये एसियाली बुद्धिचाल फेडेरेसनले १० हजार डलर सहयोग गर्नेछ । प्रतियोगिताका लागि नेपालसहित भारत, चीन र अफगानिस्तानका अन्तर्राष्ट्रिय आर्बिटरले निर्णायकको भूमिका निभाउने छन् ।

खेलकुद

सिन्धुली र रामेछाप फाइनलमा

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– प्रथम माझी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सिन्धुली र रामेछाप भिड्ने भएका छन् । मकवानपुरको बकैया गाउँपालिका–४ स्थित जुरेली मैदानमा शुक्रबार सेमिफाइनलमा रामेछापले मकवानपुरलाई २–० र सिन्धुलीले सुनसरीलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
सिन्धुलीको जितमा रामकुमार माझीले ह्याट्रिक गरे । उनले सुनसरीविरुद्ध ८, १० र ६५ औं मिनेटमा गोल गरेका थिए । सुनसरीबाट एकमात्र गोल गंगाराम माझीले खेलको २६ औं मिनेटमा गरे । राजकुमार म्यान अफ द म्याच घोषित भए ।
रामेछापलाई जिताउँदा मनोज माझीले ३४ र नवीन माझीले ३७ औं मिनेटमा गोल गरे । मकवानपुरले आफ्नो घरेलु मैदानमा भने कुनै चमत्कार देखाउन सकेन । फाइनल शनिबार हुनेछ । माझी समुदायका खेलाडीमात्र सहभागी प्रतियोगिता विजेताले एकलाख, उपविजेतालाई ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Page 16
खेलकुद

एन्फालाई ठूलो जरिवाना

- राजु घिसिङ

(काठमाडौं) - अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी कप २०१९ मा मापदण्ड उल्लंघन गर्दै क्लबहरूलाई लाइसेन्स दिलाएको पाइएपछि एसियाली फुटबल महासंघ (एएफसी) अनुशासन तथा आचारसंहिता समितिले ३५ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले बेहोरेको यो ठूलो जरिवाना हो । यसअघि नेपालले १५ हजारसम्म जरिवाना तिरेको छ ।
तर, समितिको बुधबार क्वालालम्पुरमा भएको बैठकले एक महिनाभित्र १० हजार डलरमात्रै जरिवाना तिर्नुपर्ने जनाएको छ । बाँकी २५ हजार डलर एन्फाले दुई वर्षभित्र गर्ने सुधारका काममा निर्भर हुनेछ । हाल देखिएका कमी–कमजोरी दुई वर्षभित्र सच्याएर एएफसी क्लब लाइसेन्सिङ प्रणाली पूर्ण रूपमा लागू गरेमा २५ हजार डलर तिर्नु नपर्ने जनाएको छ । कमी–कमजोरी नसच्याए निलम्बनसँगै जरिवाना ३५ हजारसम्म पुग्नसक्ने चेतावनी दिइएको छ । समितिले ५ सय देखि १ लाख डलरसम्म जरिवाना गर्नसक्छ ।
एसियाली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता ‘एएफसी कप’ मा सहभागी हुनलाई ‘एएफसी कप क्लब लाइसेन्सिङ’ को मापदण्ड पूरा गरेको हुनुपर्छ । एएफसी कप २०१९ को लागि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगका सबै (१४) क्लबलाई सिफारिस गरेको थियो । त्यसमध्ये ९ क्लबलाई एएफसीले लाइसेन्स दिएको थियो । त्यही क्लबहरूलाई गलत तरिकाले लाइसेन्स दिलाएको भन्दै एएफसीले एन्फालाई ३५ हजार डलर जरिवाना गर्ने निर्णय बुधबार गरेको हो । ‘एएफसीले १० हजार डलर जरिवाना गरेको हो । उसले दुई वर्षभित्र गल्ती दोहोर्‍याएमा २५ हजार डलर बढी जरिवाना र निलम्बनको कारबाही गर्ने चेतावनी पनि दिएको छ,’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘एएफसीका प्रतिनिधि आएर तीन क्लबको निरीक्षण गरेको थियो । त्यसपछि सोधिएको स्पष्टीकरणको जवाफ पनि दियौं । थुप्रै कमजोरी देखाइएको छ । एएफसीको मापदण्डमध्ये मुख्य गरी क्लबहरूसँग युथ डेभलपमेन्ट प्रोग्राम र यू–१५ टिम नभएको भन्दै जरिवाना गरिएको हो ।’
एएफसी कप २०१९ का लागि सन् २०१८ मै एएफसी कप क्लब लाइसेन्स लिनुपर्ने व्यवस्था थियो । ए डिभिजन लिग च्याम्पियनको हैसियतमा मनाङ मर्स्याङदी क्लबले एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको थियो । ‘होम एन्ड अवे’ को आधारमा भएको प्रतियोगितामा दक्षिण एसियाली क्षेत्रको समूह चरणमै मनाङको चुनौती समाप्त भयो । मनाङसहित सहिद स्मारक ए डिभिजन लिगका १४ क्लबले एन्फाको सिफारिसमा एएफसीमा क्लब लाइसेन्सका लागि प्रस्ताव गरेका थिए । त्यसमध्ये मनाङ, थ्रीस्टार, पुलिस, आर्मी, एपीएफ, मछिन्द्र, संकटा, हिमालयन शेर्पा र च्यासल युवा क्लबले लाइसेन्स पाएका थिए ।
त्यसपछि एएफसीको अडिट हेरिरहेको कम्पनी ‘ब्यालेन्सपिक्स’ का प्रतिनिधि एएफसी क्लब लाइसेन्स पाएका क्लबहरूको निरीक्षण गर्न काठमाडौं आएका थिए । उसले मनाङ, थ्रीस्टार र आर्मी क्लबको निरीक्षण गरेपछि एन्फालाई ३७ वटा प्रश्न गर्दै स्पष्टीकरण सोधेको थियो । ‘हामीले केही कुरालाई प्रष्ट गर्‍यौं तर युथ डेभलपमेन्ट प्रोग्राम र यू–५ टिम हाम्रा कुनै पनि क्लबसँग छैन । यसैलाई एएफसीले मुख्य गल्ती देखाएको छ,’ प्रवक्ता राईले भने । एएफसीको मापदण्ड पूरा गरेका क्लबहरूले मात्रै औपचारिक प्रतियोगिता खेल्न पाउने प्रावधान छ । एएफसी क्लब लाइसेन्सका लागि क्लब दर्ता, नियमित आर्थिक प्रतिवेदन, बजेट, मार्केटिङ, एकेडेमी सञ्चालन, उमेर समूहको प्रतियोगिता, रंगशाला, ट्रेनिङ गर्ने मैदान, चिकित्सक, फिजियो, मिडिया अफिसर, एएफसी ए लाइसेन्स उत्तीर्ण प्रशिक्षक, व्यवस्थापकलगायत हुनुपर्ने प्रावधान छ । कुनै क्लबको पनि एकेडेमी छैन । लाइसेन्स लिएका कुनै पनि क्लबले एएफसी लाइसेन्सिङ प्रणालीको मापदण्ड पूरा गरेका छैनन् । एएफसीमा गलत विवरण पठाइएको सम्बन्धमा प्रवक्ता राईले भने, ‘क्लबहरूले जे गरे, हामीले त्यही एएफसीलाई दिएका थियौं ।’
एन्फाले यसपालिको ए डिभिजन लिग मंसिर २६ देखि सुरु गर्ने घोषणा गरिसकेको छ । लिग विजेता हुने क्लबले एएफसी कप २०२० खेल्ने अवसर पाउनेछ । एएफसी क्लब लाइसेन्स प्राप्त गर्न नसके क्लबले छनोट भएर पनि एएफसी कप खेल्न पाउने छैन । त्यसैले एएफसीले घरेलु लिगमै एएफसी क्लब लाइसेन्सिङ प्रणाली अनिवार्य गरिएको हो । एएफसी कप २०२० का लागि राजधानीका ए डिभिजनका १४ क्लबलाई एन्फाले लाइसेन्सका लागि सिफारिस गरिसकेको छ । त्यसमाथि एएफसीले निर्णय भने लिइसकेको छैन ।


फुटसल प्रशिक्षकलाई पनि जरिवाना
इरानमा भइरहेको एएफसी फुटसल च्याम्पियनसिप २०२० को मध्य तथा दक्षिण एसियाली छनोटको पहिलो खेलमा ताजकिस्तानविरुद्धको खेलमा नियम उल्लंघन गरेको भन्दै नेपाली टिमका प्रशिक्षक विष्णु गुरुङलाई १ हजार डलर जरिवाना गर्ने निर्णय एएफसीको अनुशासन समितिले गरेको छ । साथै उनलाई एक खेलमा निलम्बनको कारबाही गर्ने निर्णय पनि गर्‍यो ।
एन्फाले प्रारम्भिक छनोटमै नरहेका तीन खेलाडीलाई राष्ट्रिय फुटसल टिममा समावेश गरेको थियो । पहिलो खेलमा नेपाललाई ताजिकिस्तानले ६–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपालले इरानमा भएको छनोटमा सबै खेलमा हार बेहोर्‍यो । दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध ४–१ ले हारेको नेपाली टिम अन्तिम खेलमा अफगानिस्तानविरुद्ध ६–२ ले पराजित भयो ।

खेलकुद

महिला क्रिकेटले जितेको दिन

‘पहिलो पटक फ्रेन्चाइज क्रिकेट खेलेको रमाइलो भयो र राम्रो पनि भयो । यसमा खेलेपछि हाम्रो आत्मविश्वास पनि बढेको छ । यति ठूलो माहोलमा खेल्नै पाएको थिएनौं ।’
- विनोद पाण्डे
डब्लूसीएल च्याम्पियन भएपछि चितवन राइनोजका खेलाडीको जोस । प्रतियोगिताका क्रममा पोखरा पल्टनका खेलाडी (तल) । तस्बिर ः केशव थापा/कान्तिपुर

(काठमाडौं) - मुख्य प्रतियोगिता खेल्न विदेश जानु अघि २–३ साताको बन्द प्रशिक्षण राखिने र त्यही तयारीको भरमा सिधै खेल्नु पर्ने नेपाली महिला क्रिकेटको नियति नै हो । महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता मुस्किलले वर्षको १–२ वटा हुन्छ । त्यसको प्रभाव घरेलु क्रिकेटमा त पर्ने नै भयो ।
नेपाल क्रिकेट संघ (क्यान) साँढे तीन वर्ष निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कपले महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता धानिएको थियो । निलम्बन अघि पनि क्यान र महिला राष्ट्रिय प्रतियोगितामा खासै फरक थिएन्, वर्षको त्यही मुस्किलले एक पटक जसो तसो राष्ट्रिय प्रतियोगिता हुने गरेको थियो ।
नेपालको महिला क्रिकेट कतिसम्म उपेक्षित थियो भने अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । नेपालको पुरुष क्रिकेटमा फ्रेन्चाइजको लहर छ । पछिल्लो तीन वर्षमा मात्र पुरुषतर्फ ७ वटा फ्रेन्चाइज क्रिकेट हुँदा नेपालको महिला क्रिकेट खेलाडीहरू वर्षको एउटा राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि भौतारिरहनु पर्थ्यो । पुरुष क्रिकेटमा भित्रिएको ग्लायमर उनीहरू मैदान बाहिर बसेर हेर्न बाध्य थिए ।
नेपाली महिला खेलाडीले पनि फ्रेन्चाइज क्रिकेट खेल्ने सपनालाई सार्थक बनाएका छन् । क्विन्स इभेन्ट प्रालीको आयोजनामा भएको वुमन च्याम्पियन्स लिग (डब्लुसीएल) ट्वान्टी–२० क्रिकेट खेलेर महिला क्रिकेट खेलाडीले आफ्नो सपनामात्र पुरा गरेनन्, आफ्नो स्थिति जाँच्ने अवसर पनि पाए । बिहीबार सम्पन्न डब्लुसीएल जितेर चितवनले नेपाली क्रिकेटमा इतिहास रच्यो । अर्को भनेको १३ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अगाडि उनीहरूले आफुहरूलाई बुझ्ने अवसर पाए ।
‘पहिलो महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता जित्न नपाउदा दुख पनि लागेको छ । यो सँगैं खुशी पनि छु, महिला क्रिकेटको जित भएको छ । पहिलो पटक भए पनि सबैजनाले राम्रो खेलेका छन्,’ रुबिनाले भनिन्, ‘जुन हिसाबमा खेलाडीले खेले, मलाई त्यसमा गर्व पनि लाग्छ नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान भएकोमा । उपाधि नचालेकोमा दुख लाग्नु स्वभाविक हो, तर जसले उचाले पनि महिला खेलाडीले नै ट्रफी उचालेका छन् ।’
नेपालको पहिलो फ्रेन्चाइज क्रिकेटमा रुबिना उत्कृष्ट खेलाडीमा चुनिन् र स्कुटर पाइन् । नेपाली महिला क्रिकेटरले यस्तो पुरस्कार पाएको विरलै छ । रुबिनाको ब्याट र बल निकै राम्रोसँग चलेको थियो । पुरुष क्रिकेटरले नै डाह गर्ने हिसाबले प्रतियोगिता भरी उनले ब्याटिङ गरेकी थिइन् । उनको ब्याटिङ औषतनै १ सय ७ थियो । फाइनलअघि उनको ब्याटिङ औषत २ सय १२ थियो । फाइनलमा उनी नचल्दा उनको टोली काठमाडौं क्याट क्विन्स उपविजेतामा सीमित हुन पर्यो ।
‘प्रत्येक पटक म आफ्नो खेलमा सुधार गर्न चाहान्छु, जहिले पनि म उत्कृष्ट खेल्न चाहान्छु । मैले जिम्मेबारी लिएर खेल्दा टिमले जित्न पनि सक्थ्यो । तर मैले फाइनलमा राम्रोसँग खेल्न सकिन् । साग अगाडि जुन एउटा प्लेटफर्म सेट गर्नु पर्ने थियो, आत्मविश्वास ल्याउनु पर्ने थियो, त्यो यस्ता प्रतियोगिताहरूले ल्याउने गर्छ,’ रुबिनाको यस भनाईले डब्लुसील जस्ता प्रतियोगिताले खेलाडीको नर्भसनेस हटाउने छ, जसको कारण उसको टोली फाइनलमा पराजित भएको थियो ।
साग निर्धारित समय अनुसार मंसिर १५ देखि २३ सम्म हुने तालिका छ । यसले नेपाली भुमिमा महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि भित्राउने छ । दर्शकले पहिलो पटक नेपाली महिला खेलाडीको प्रदर्शन स्वदेशी भुमिमा हेर्न पाउने छन् । पाँच फ्रेन्चाइज टोली समावेश डब्लुसीएलले महिला क्रिकेट खेलाडीको प्रदर्शन र क्षमता उजगार गरेको थियो । त्यसले केही दर्शक पनि तान्न सफल भयो ।
‘पहिलो पटक फ्रेन्चाइज क्रिकेट खेलेको रमाइलो भयो र राम्रो पनि भयो । यसमा खेलेपछि हाम्रो आत्मविश्वास पनि बढेको छ । हामीले यस्तो ठुलो माहोलमा खेल्नै पाएको थिएनौं,’ पोखरा पल्टनकी कप्तान सीता रानामगरले भनिन्, ‘पहिलो पटक यस्तो प्रतियोगितामा खेलेकोले होला, सुरुमा केही खेलाडी अत्तालिएका जस्ता देखिन्थे । खेल्दै गएपछि लयमा आउन लागियो । दर्शकहरू पनि मैदानमै आएर हेर्दा आत्मविश्वास बढेर गयो ।’
नेपाली राष्ट्रिय महिला टोलीकी उपकप्तान पनि रहेकी सीताले यस्तो प्रतियोगिताले खेलाडीको मनोबल बढाउने जनाउदै भनिन्, ‘वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता मात्र खेल्ने बानी परिसकेको थियो । यो एउटा ठुलो प्लेटफर्म थियो खेलाडीका लागि । टिभीमा प्रत्यक्ष प्रसारण हुँदा राम्रो खेल देखाउनु पर्छ भन्ने हुन्छ । त्यसैले प्रतियोगिताको स्तर पनि बढाउछ र हामीलाई अलिक माथिल्लो स्तरमा खेल्न सहयोग पनि गर्छ ।’
पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र वर्तमान उपकप्तान ज्ञानेन्द्र मल्लसहितको टोलीले आयोजना गरेको प्रतियोगिता हो डब्लुसीएल । उनीहरूको क्विन्सले पोखरामा गत वर्ष देखि पुरुषतर्फ पोखरा प्रिमियर लिग क्रिकेट आयोजना गर्दै आएको छ । त्यसबाहेक पुरुषतर्फ अन्य दुई फ्रेन्चाइज क्रिकेट धनगढी प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग पनि आयोजना हुने गरेको छ ।
आयोजक आफै कसरी प्रतियोगिता सञ्चालन हुनेमा सुरुमा अन्योलमा रहेको ज्ञानेन्द्र बताउछन् । ‘कस्तो हुने हो के हुने हो भनेर सुरुमा केही नर्भस भएका थियौं, तर प्रतियोगिता अगाडि बढेसँगैं राम्रो हुदै गयो । खेलाडी देखि सबैक्षेत्रबाट राम्रो सहयोग भयो । सुरुमा दर्शक अलिक कम जस्तो लागेको थियो, तर क्वालिफायर र फाइनलमा जसरी दर्शक आउनु भयो, यसले राम्रो अर्थ जनायो,’ ज्ञानेन्द्र भन्छन्, ‘महिला क्रिकेट प्रति कम चासो भएर पनि हुनसक्छ, सुरुमा दर्शक कम देखिनुको कारण ।’
पुरुषको जुन क्रिकेट क्रेज छ, त्यही अनुसार महिला क्रिकेटलाई पनि समर्थन गरिदिन उनले दर्शकसँग अनुरोध गरे । ‘महिला क्रिकेटमा प्रायोजक जुटाउन निकै गाह्रो भयो । राम्रो हिसाबमा गर्दा बजेट पनि धेरै हुन जान्छ । बजेट माथि भएपछि हामीले पनि प्रायोजकबाट त्यही अपेक्षा गर्छौ । धेरै प्रायोजकले व्यपार प्रवद्धनको हिसाबमा भन्दा पनि खेल प्रतिको मोहका कारण प्रायोजन गरिरहनु भएको छ,’ ज्ञानेन्द्रले भने, ‘प्रायोजकसँगैं कतिलाई महिला क्रिकेटको स्थितिको बारेमा थाहा पनि थिएन् । त्यसैले आउदा वर्षहरूमा प्रायोजक पनि ठुलो रुपमा आउनु हुनेछ भन्ने आशा गरेका छौं ।’
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले दुई साता अघि क्यानमाथी लगाएको निलम्बन सशर्त फुकुवा गरेको छ । आउने दिनमा क्यानलाई पनि यो किसिमको प्रतियोगिता आयोजना गर्ने ढोका खोलिदिएको छ । ज्ञानेन्द्र मान्छन्, ‘संघलाई यस्ता प्रतियोगिता आयोजना गर्न केही सुझाव दिनुपर्छ जस्तो लाग्दैन । उहाँहरू पनि दक्ष भएर आउनु भएको हो । हामीले भन्दा पनि क्यानले राम्रो हिसाबले यस्ता प्रतियोगिता आयोजना गर्नसक्छ ।’

खेलकुद

जोसिलो चितवनविरुद्ध अनुभवी पुलिस

- रमेशकुमार पौडेल
चितवन–११ र पुलिस (दायाँ) क्लबका कप्तान तथा प्रशिक्षक फाइनलको अघिल्लो दिन शुक्रबार ट्रफीसाथ । तस्बिर ः रमेश/कान्तिपुर

(चितवन) - पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाका लागि विकास रनिङ सिल्ड नौलो हैन । २०५५ सालमा धरान फुटबल क्लबले विकास सिल्ड जित्दा उनी टोलीका खेलाडी थिए । अनुभवी थापाले विभागीय टोली पुलिस क्लबलाई शनिबार विकास सिल्डको उपाधि भिडन्तमा उतार्दै छन् । प्रशिक्षक थापा मात्रै हैन पुलिसका खेलाडीहरू अनुभवी र परिपक्व मानिन्छ ।
यो टोलीले उपाधिका लागि घरेलु टिम चितवन–११ को सामना गर्दै छ । उपाधिसहित ६ लाख ६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने होडमा चितवन पनि बलिया चुनौतीहरूलाई पन्छाउँदै अन्तिम खुड्किलोसम्म आएको हो । सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको चितवनसँग जोस र घरलु दर्शकको साथ रहनेछ । चितवनको टोली युवा र जोसिलो रहेको पुलिस टोलीका सदस्य पनि स्वीकार्छन् ।
चितवनमा भएको सर्वाधिक राशि पुरस्कार रहेको प्रतियोगिताको फाइनलमा पुग्न टिमका सदस्यले राम्रै मिहेनत गरेको प्रशिक्षक विजय घले बताउँछन् । ‘राम्रा राम्रा टिम थिए । हाम्रा प्रतिद्वन्द्वी पनि ठुलै थिए । हामी राम्रै खेलेर यहाँसम्म आएका हौं । फाइनल पनि जित्छौं,’ घलेले दाबी प्रस्तुत गरे । पुलिस पनि बलियो टिम नै भएको हुँदा फाइनल प्रतिस्पर्धा रोमाञ्चक हुने उनले सुनाए ।
‘आर्मीलाई जितेर आएको जोस छ । घरेलु मैदानमा खेल्दा भावनात्मक पक्ष बलियो हुन्छ । हामीसँग युवा खेलाडी छन् । बलियो आत्मबल लिएर खेलेपछि खेल जितिन्छ,’ घलेले बताए । असोज ३० सुरु भएको विकास रनिङ सिल्डको समूह ‘ए’ को चितवन मकवानपुर–११ लाई ३–२ ले पन्छाएर अगाडि बढेको हो । समूह ‘बी’ पुलिसले सरस्वतीलाई ५–० ले हराएर प्रतियोगिता सुरु गरेको थियो । चितवन र पुलिसले सोझै सेमिफाइनलमा खेलेका हुन् । चितवनले आर्मीलाई २–१ ले र पुलिसले संकटालाई १–० गोल हराएका थिए ।
खेलमा पुलिसले ६ गोल गर्दा कुनै गोल सामना गरेको छैन । चितवनले ५ गोल गर्दा ३ गोल खाएको छ । पुलिसविरुद्ध गोल गर्न सजिलो नहुने चितवनका कप्तान रुमेश बर्तौला बताउँछन् । ‘पुलिसको सवल पक्ष हामीले ख्याल गरेका छौं । उहाँहरूको अग्रपंक्ति बलियो छ । यसलाई चिर्न हामी त्यहीअनुरुप रणनीति बनाएर खेल्नेछौं,’ उनले भने ।
पुलिसले पनि चितवनको खुबी नियालेको छ । ‘चितवन र आर्मीसँगको खेल हेर्‍यौं । चितवनको राम्रो पक्ष उनीहरू पोजिसन मिलाएर खेल्छन् । पास राम्रोसँग दिन्छन् । मिस पास खासै गएको छैन । टोलीमा युवा छन् । त्यसैले हामी तयारीका साथ उपाधि जित्ने गरेर मेदानमा ओर्लदै छौं’ पुलिसका कप्तान भरत शाहले भने । चितवनको टोली ठूलो प्रतियोगिताको उपाधि होडमा पुगेको यो पहिलो हो ।
‘यो पटक हामी निकै उत्साही भएका छौं । चितवनमा यति ठूलो प्रतियोगिता हुनु र फाइनलमा हाम्रै टिम पुग्नु ठुलो उपलब्धि हो । हामी चितवनको एउटा नियमित टिम बनाउने योजनामा छौं,’ प्रशिक्षक घलेले भने । ए डिभिजनका खेलाडी चितवन रत्ननगर घर भएका रुपेश बर्तौलाको नेतृत्वमा मैदानमा उत्रेको चितवन–११ सँग सात खेलाडी चितवनकै छन् । विकास सिल्ड समितिले २०३१ सालदेखि नारायणगढ क्याम्पाचौरमा विकास रनिङ सिल्ड गर्दै आएको थियो । २०७४ सालसम्म १३ पटकसम्म विकास रनिङ सिल्ड भएको छ । ७५ सालमा प्रतियोगिता हुन सकेन । यो वर्ष नारायणगढ जेसिजको आयोजनामा विकास रनिङ सिल्ड भएको हो । उपविजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ जित्ने छन् ।

Page 17
कोसेली

'नोबेल दम्पती' को कथा

- स्वर्णिम वाग्ले

 

भारत, पश्चिम बंगालका ५८ वर्षीय अभिजित बनर्जीले कलकत्ताबाट पढाइ आरम्भ गरेका थिए । त्यसपछि दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) बाट मास्टर र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट उनले अर्थशास्त्रमा पीएचडी गरे । उनले प्रारम्भमा सैद्धान्तिक विषयमा काम गरे । त्यतिबेला प्रयोगात्मक अनुसन्धान विधिलाई त्यति महत्त्व दिइँदैन थियो । हार्वर्डको पीएचडीपछि उनले सोझै म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अध्यापन गर्न थाले । म हार्वर्ड पढ्न जानुभन्दा पहिल्यै सन् १९९९ तिर हार्वर्डमा उनी लिजेन्ड भइसकेका थिए । विलक्षण प्रतिभाको कदर भइसकेको थियो ।
अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने एस्थर डुफ्लो सबैभन्दा कम उमेरकी हुन् । अर्थशास्त्रमा नोबेल पाउने उनी दोस्रो महिला पनि हुन् । संयोग के छ भने उनीभन्दा अघि यो पुरस्कार पाउने महिला इलोनेर अस्ट्रोमले पनि नेपालमा अध्ययन गरेकी थिइन् । उनी अर्थशास्त्रीचाहिँ होइनन् । उनको अध्ययनमा नेपालको समुदाय तथा उपभोक्ता समूहबाट व्यवस्थापन गरिएको वन, सिँचाइ तथा खानेपानी योजना परेका छन् ।
४६ वर्षीय एस्थरले यसअघि जन बेट्स क्लार्क मेडल पाइसकेकी थिइन् । अमेरिकन इकोनोमिक एसोसिएसनले ४० वर्षभन्दा कम उमेरका अर्थशास्त्रीलाई यो मेडल दिन्छ । अर्थशास्त्रको यो मेडल पाउने धेरैले नोबेल पुरस्कार पाएका छन् ।
फ्रान्सेली एस्थरले सुरुआती पढाइ पेरिसमै गरिन् । फ्रान्समा टप गरिसकेपछि उनी पीएचडीका लागि एमआईटी गइन्, अभिजित बनर्जीले पढाउँथे । पीएचडीमा एस्थरका सुपरभाइजर अभिजित नै थिए । सन् २००३ मा यी दुईले मिलेर जेप्याल (अब्दुल लतिफ जमिल पोभर्टी एक्सन ल्याब) सुरु गरे ।
उनीहरूले के काम गरे र त्यसले नोबेल दिलायो भन्नेमा पछि आउँला । अहिलेलाई अभिजित र बनर्जीको नेपाल आगमनको कुरा गरौं । उनीहरू इसिमोडको एउटा प्रोजेक्टको काममा नेपाल आएका थिए । उनीहरूका नेपाली विद्यार्थी महेश्वर श्रेष्ठले खासमा नेपाल ल्याएका थिए । उनीहरू आउने भएपछि मलाई पनि भनियो । उनीहरूले मेरो सहयोग पनि मागे ।
उनीहरूको ‘पुअर इकोनोमिक्स ः ए र्‍याडिकल थिंकिङ अफ द वे टु फाइट ग्लाबेल पोभर्टी’ भन्ने किताब आइसकेको थिए । किताबले तहल्का मच्याइसकेको थियो । मैले सोचें— नेपालका मन्त्रीहरूलाई त सुनाएर काम छैन तर सचिवहरूलाई उनीहरूको अनुभव सुनाउनुपर्छ । सन् २०१४ मा म योजना आयोगको सदस्य थिएँ । लीलामणि पौडेल मुख्य सचिव हुनुहुन्थ्यो । मैले उहाँलाई भनें, ‘उनीहरू आउँदै छन् । तपाईंको कार्यकक्षमा सबै सचिवलाई बोलाएर उनीहरूको कुरा सुनाऔं ।’ एक हप्ताअगाडि सचिवहरूलाई भनेर, फलोअप गरेर, अनिवार्य उपस्थित हुनुपर्छ भनेका थियौं । सबै सचिव आए पनि । मुख्य सचिवको ठूलो हलमा दुई घण्टाको कार्यक्रम गर्‍यौं । बढी अभिजितले बोले ।
शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेको कामहरूको अनुभव सुनाए । उनीहरूको मुख्य कुरा हामी गर्न सकिन्छ है, मान्छेहरू पन्छिन खोज्छन्, तपाईंहरू त्यसो नगर्नुस् भन्ने थियो । ‘नेताहरू नै भ्रष्ट छन्, राजनीतिक प्रणालीहरू सुधार नगरी केही हुन्न’ भनेर बस्न हुँदैन । बच्चालाई जुकाको औषधि दिन कुनै व्यवस्था परिवर्तन आवश्यक छ र ? भन्नेजस्ता विषयमा उनीहरूले बढी छलफल गरे । (जुकाको औषधिको उदाहरण किन दिए भने त्यसमा उनीहरूले काम गरेका थिए । यसबारे पछिको चर्चामा पनि उल्लेख हुनेछ ।) अर्थशास्त्रीहरू, दार्शनिकहरू बृहत् गफ गर्छन् तर उनीहरूले सूक्ष्म ढंगको ‘आइडिया’ हरू दिए ।
उनीहरूको कुराको निष्कर्ष थियो, कुनै पनि देश र समाजको प्रगति तीनवटा कुराले रोक्छ— आइडोलोजी, इग्नोरेन्स र इनर्सिया ।

के हो उनीहरूको अध्ययन ?
अर्थशास्त्रमा सूक्ष्म र बृहत् भनेर छुट्याइन्छ । आर्थिक वृद्धि यति, राष्ट्रिय आम्दानी यति, रोजगारी सिर्जना यति, शोधनान्तर यति भनेर बृहत् अर्थशास्त्रले भन्छ । यसका लागि उपलब्ध तथ्यांक लिएर कोठाभित्रै बसेर पनि हिसाब गर्न सकिन्छ । यो विषय आम जनतालाई मतलब नै हुँदैन । आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुनु र ६.९ हुनुमा जनतालाई कुनै मतलब छैन ।
सूक्ष्म अर्थशास्त्रमा ससाना विषयमा, क्षेत्रमा र व्यक्तिहरूमा काम गरिन्छ । सूक्ष्म अर्थशास्त्रमा काम गर्नेहरूले शिक्षा, स्वास्थ्य, लघुवित्तजस्ता विषयमा के गर्न सकिन्छ भनेर सोच्छन्, त्यो पनि प्रयोगात्मक विधिमार्फत । उनीहरू फिल्डमै गएर काम गर्छन् । कुन विधिले प्रभावकारी काम गर्‍यो वा गरेन ? गरेको भए कति मात्राले काम गर्‍यो ? यसलाई प्रयोग गर्‍यो भने फाइदा कति दिन्छ ? लागत कति लाग्छ ? भन्नेजस्ता सूक्ष्म अध्ययन हुन्छ । शिक्षक, कृषक, महिला उद्यमीहरूसँग कुरा गरेर, गैरसरकारी संस्थाहरूसँग मिलेर काम गर्छन् । अभिजित र एस्थरको दम्पती त्यस्तै हुन् ।
हार्वर्डका यी दिग्गजहरू केन्या, भारतको बिहार, गुजरात, राजस्थानजस्ता ठाउँहरूमा आएर काम गरेका छन् । विकास अर्थशास्त्रको परम्परागत बुझाइलाई उनीहरूले परिवर्तन गरे । उनीहरूले तल्लो तहमा गएर सूक्ष्म अध्ययन गरे । जुन चिकित्सा विज्ञानमा गरिन्छ, र्‍यान्डमाइज कन्ट्रोल ट्रायल (आरसीटी) विधिजस्तै काम गरे । उनीहरूले वैज्ञानिक आधार भित्र्याएर मात्रै कुन नीतिले काम गर्‍यो कि गरेन भनेर छुट्याउने र त्यसपछि प्रयोगात्मक अभ्यास गर्ने गर्छन् । करिब ९ सय ५० भन्दा बढी आरसीटी उनीहरूको जेप्यालले मात्र गरेको छ । अमेरिकी इकोनोमिक्स एसोसिएसनले जनाएअनुसार आरसीटीमा आधारित प्रयोगात्मक अध्ययन, जर्नलहरूमा प्रकाशित लेख र नतिजाको आधारमा सरकारहरूले विकासे काम गरेका छन् । त्यो विकासे कामले अहिले करिब ४० करोड जनतालाई छोएको छ ।

आरसीटीको सबल पक्ष  
अर्थशास्त्र र सामाजिक विज्ञानमा कजालिटी (कार्यकारण सम्बन्ध) स्थापित गर्न ठूलो समस्या छ । ‘यो हस्तक्षेप गरेको कारणले यस्तो नतिजा आएको’ भन्ने सोझो परिणाम निकाल्न गाह्रो छ । अर्को शब्दमा ‘ए’ भन्ने क्रियाकलापले ‘बी’ नतिजा आयो भनेर देखाउन असाध्यै गाह्रो छ । आम तवरमा को–रिलेसन (सहसम्बन्ध) मा विश्वास गरिएको हुन्छ । डाक्टरले सेतो लुगा लगाउँछन् । सेतो लुगा लगायो भने म नि डाक्टर हुन्छु भन्ने विषय को–रिलेसन हो । सेतो कोट लगाउँदैमा डाक्टर हुने त हैन । सेतो कोट लगाएकैले डाक्टर–डाक्टर भयो भन्ने प्रमाणित गर्न सकियो भने त्यो कजालिटी हो । त्यसकारण को–रिलेसन र कजालिटीको ठूलो भिन्नता छ ।
सामाजिक विज्ञानमा मान्छे संलग्न हुन्छ । उदाहरणका लागि चिकित्सा विज्ञानमा कुनै औषधिको परीक्षण मुसामा गर्न सकियो । केही नैतिक कुराहरू पनि होलान् तर मुसा मारेर प्रयोग गर्न सकिन्छ । मान्छेमा त्यस्तो काम गर्न सकिन्न । इतिहासको एक कालखण्डमा एउटा घटनाक्रम भइसकेपछि फेरि अर्को विन्दुमा त्यही काम गर्न सकिँदैन ।
राणा शासनले नेपाललाई ध्वस्त बनायो । यो सबैले मान्छन् । तर वैज्ञानिक प्रमाण जुटाउन समस्या छ । राणा शासन सुरु भएको सन् १८४६ मा फेरि राणा शासनबाहेकको अर्को शासन लादेर १०४ वर्षको नतिजा हेर्नुपर्‍यो, दाँज्नुपर्‍यो । तर त्यो सम्भव छैन । त्यसकारण कजालिटी असाध्यै गाह्रो विषय हो ।
अभिजित र एस्थरको क्रान्ति नै यस्तै विषयमा हो । मानौं कफी औषधि हो, यो कसरी पत्ता लगाउने ? यसले साँच्चिकै ज्यान बचाउँछ कि बचाउँदैन ? यसका लागि चिकित्सा विज्ञानमा दुई समूहमा हेर्ने गरिएको छ । एउटा ट्रिटमेन्ट ग्रुप, अर्को कन्ट्रोल ग्रुप । यी दुई समूह तथ्यांकीय आधारमा समान हुन्छन् । त्यस्तो अवस्थामा एउटालाई पानी मात्रै दिने, अर्कोलाई भ्याक्सिन । यसबाट दुई समूहमा भ्याक्सिन दिँदा र नदिँदाको फरक हेरिन्छ  र त्यो भ्याक्सिनले नै गर्दा यस्तो परिणाम निस्कियो भनेर प्रमाणित गर्न सकिन्छ । यसका लागि दुई समूहका व्यक्ति हरेक हिसाबले समान हुनुपर्छ । नभए प्राप्त नतिजा विकृत हुन सक्छ, जसको वैज्ञानिक आधार हुँदैन ।
चिकित्सा विज्ञानमा प्रमाणित भएको यो विधिलाई उनीहरूले अर्थशास्त्रमा ल्याए । नेपालको सार्वजनिक शिक्षा खत्तम भयो, के गर्नुपर्छ ? भन्ने प्रश्न गरियो भने ९५ प्रतिशतले बजेट बढाउनुपर्‍यो, शिक्षक बढाउनुपर्‍यो भन्ने जवाफ दिन्छन् । अलि गहिरिएर बुझेको मानिसले शिक्षामा राजनीतिकरण बन्द गर्नुपर्‍यो भन्ला । शिक्षामै काम गरिरहेकाले पाठ्यक्रम सुधार गर्नुपर्‍यो, पुस्तक वितरण प्रभावकारी बनाउनुपर्‍यो भन्ला । भौतिक वातावरणको कुरा पनि कसै–कसैले गर्ला । यो सबै काम एकैचोटि गर्न सकिँदैन । यसमध्ये तत्कालै गरिहाल्नुपर्ने हस्ताक्षेप कुन हो त ? भनेर छुट्याउनुपर्‍यो ।
उनीहरूले यस्तै हस्ताक्षेपका लागि प्रयोगात्मक विधिमार्फत काम गरे । उनीहरूसँगै नोबेल जितेका माइकल क्रेमरले यस्तै हस्तक्षेपको बीउ रोपिदिएका थिए । उनले सन् १९९५ मा केन्यामा पढाइरहेका थिए । त्यहाँका विद्यार्थीहरूलाई किताब पनि दिएको छ, शिक्षक पनि तालिम प्राप्त छन् तर विद्यार्थीको सिकाइ नै छैन । उनले गहिरिएर हेर्दा किताबमा तेस्रो भाषा रहेछ । एउटा स्थानीय भाषा, दोस्रो अंग्रेजी र तेस्रो अर्को भाषा । यसलाई अध्ययन गरेर उनले शिक्षण विधिमै खोट छ भने । त्यसलाई प्रमाणित पनि गरे । भारतको राजस्थान, गुजरात, केन्यामा दर्जनौं यस्तो प्रयोगात्मक कामहरू गरे । निःशुल्क किताब, निःशुल्क खाना दिएर भन्दा पनि जुकाको औषधि दिएर सबैभन्दा बढी प्रभावकारी परिणाम निस्कियो ।
एउटा अर्को रोचक प्रयोग— केही बालबच्चाको घरघरमा गएर बाबुआमालाई तपाईले पढाउनुभयो भने, भविष्यमा तिम्रा बालबच्चाको आम्दानी यतिले वृद्धि हुन्छ भनेर उनीहरूले एउटा समूहमा भने । त्यस्तै प्रकृतिको अर्को समूहलाई भनेनन् । त्यति भनिएकै कारणले धेरै विद्यार्थीले पढ्न पाए । कुन विधिबाट परिवर्तन गर्न सकिन्छ भनेर पत्ता लगाउने र त्यसबाट परिणाम निकाल्ने काम उनीहरूले गरे ।

लेखकसँग नोबेल विजेता दम्पती अभिजित र एस्थर ।


पहिलो हुने विद्यार्थीलाई सबै प्रोत्साहन र चाकडी गर्ने तर अरूलाई बेवास्ता गर्ने काम हुने गरेको छ । नेपालमा त झन् यो समस्याकै विषय छ । निजी विद्यालयहरूले त नजान्ने विद्यार्थीलाई भर्ना नै गर्दैनन् । ग्रेड वान, ग्रेड टु, ग्रेड थ्री भन्ने तहगत व्यवस्था झन् वाहियात हो भन्ने कुरा आयो । यदि दुई कक्षामा पढ्ने विद्यार्थीले पाँच कक्षा पढ्ने जत्तिकै ज्ञान राख्छ भने पाँच कक्षामै पढाऊँ भन्ने तर्क उनीहरूको छ । तहगत व्यवस्था भए पनि विद्यालयबाहिर त्यसैअनुसारको क्रियाकलाप गर्नुपर्छ, जसले शिक्षामा आमूल परिवर्तन ल्याउन सकिन्छ भन्छन् ।
बिहारमा कक्षा सुरु हुनुपूर्व शिक्षक आएको छ कि छैन भनेर हेर्नका लागि कक्षाकोठामा क्यामेरा राख्न थालियो । शिक्षक नै ढिला आउने, नआउने प्रवृत्ति ह्वात्तै घटेर गयो । खोप लगाउनुपर्छ भन्ने कुरा धेरैलाई थाहा छ । तर कामकाजी आमाहरूले नभ्याइरहेका हुन्छन् । खोप लगाउन आए, एक किलो दाल दिन्छौं भनेपछि धेरै आए । एक किलो दाल नदिँदा खोप लगाउन औसतमा ६ प्रतिशत आउँथे, दाल दिँदा ६ गुणाले बढेर ३६ प्रतिशत खोप लगाउन आउन थाले ।
यो पनि परीक्षण गरेर मात्रै उनीहरूले काम गर्न लगाएका हुन् । एउटा खोप क्याम्पमा केही पनि नदिने, त्यही प्रकृतिको अर्को समुदायमा एक किलो दाल दिँदा के हुँदो रहेछ भनेर परीक्षण गरे । ६ गुणाले वृद्धि भएपछि प्रभाव देखियो, त्यही गर्नुपर्ने रहेछ भनेर प्रयोगमा ल्याए ।
माइक्रोफाइनान्सले सोचेजति प्रगति गर्दैन भनेर यिनीहरूले पत्ता लगाएका छन् । माइक्रोफाइनान्सले दुनियाँको गरिबी अन्त्य गर्छ भनिरहेको बेला यसले ठूलै तहल्का मच्चायो । मान्छेलाई भोकभोकै मर्नबाट बचाउँछ तर धनी बनाउँदैन भन्ने उनीहरूको निष्कर्ष छ । राजनीतिमा पनि उनीहरूको प्रयोगात्मक अभ्यास छ । महिलाहरू राजनीतिमा आए भने परिपक्व निर्णय गर्छन् कि गर्दैनन् ? भनेर उनीहरूले हेरेका छन् । भारतको समान प्रकृतिको गाउँ पञ्चायतमा अभ्यास गरे । विकासका लागि महिलाहरूको सहभागिता राम्रो भयो भन्ने निष्कर्ष पनि निकालेका छन् ।
विद्यालय गएबापत, स्वास्थ्य जाँच गरेबापत अनुदान शुल्क दिने प्रयोग मेक्सिकोमा भएको थियो । यो प्रभावकारी छ भन्ने देखिएको छ । उनीहरू कहिल्यै ठूलाठूला कुरामा गएनन् । सूक्ष्म हस्तक्षेपका लागि प्रयोग गरौं, तथ्यांकले जे भन्छ त्यही काम गरौं भनेर उनीहरूले काम गरेका छन् । यदि तथ्यांकले राम्रो देखाएन भने त्यही रोक्ने काम पनि भएका छन् ।

आरसीटीका कमजोरी
यो विधिका आलोचनामा मुख्य तीनवटा बुँदा अघि सार्ने गरिएको छ । पहिलो, एक ठाउँको अध्ययनले अर्कै भूगोल र संस्कृतिमा काम लाग्छ ?
केन्यामा भएको एउटा अभ्यासको नतिजा, नेपालमा लागू हुन सक्छ त ? नहुन पनि सक्छ । केन्यामा जुकाको औषधि वितरणले नै शिक्षामा सुधार भयो भन्दैमा यहाँ त्यही लागू नहुन सक्छ । यस किसिमको ‘एक्स्टर्नल भ्यालिडिटी’ उनीहरूका लागि ठूलो चुनौती हो । नोबेल साइटेसनमा पनि कसरी सामान्यीकरण गर्ने भन्ने चासो व्यक्त गरिएको छ । उनीहरूले पनि हरेक ठाउँ एउटै विधि ठीक हुन्छ भनेर दाबी त गरेका छैनन् ।
एउटा उदाहरण नेपालको लिऊँ । माहिनावारी हुँदा छात्रा विद्यालय जाँदैनन् । ४–५ दिन पढ्न पाउँदैनन्, पछि पर्ने भए भन्ने बुझाइ छ । यिनीहरूकै समूहकी रेबेका थोरन्टर्नले चितवनमा अध्ययन गरेकी छन् । उनले एउटै उमेर समूहका छात्राहरूमा महिनावारी हुँदा लगाउने ‘मेन्सुरेसन कप’ राखेर विद्यालय जाने बनाइन् । त्यो कप दिँदा विद्यालय जाने केटीहरू र नदिँदा जाने केटीहरूको फरकपन उनले हेरिन् । यसमा उही उमेर, जातिदेखि लिएर सबै एउटै समूहको थियो । तर शैक्षिक सुधारमा खासै भिन्नता देखिएन । महिनावारी भएर पछि परेको भन्ने कुरा मिथ्या सावित भयो । तर त्यो कप प्रयोगमा उनीहरूले निकै राम्रो अनुभव गरे । रेवेकाको सिफारिस शिक्षामा सुधार हुन्छ भनेर हैन, छात्राले मन पराए त्यसकारण यसलाई निरन्तरता दिऔं भन्ने थियो । यसमा पनि ठाउँअनुसार फरक परिणाम निस्कन सक्छ । चितवन र अछाममा उही हुन सक्छ ? पक्कै पनि सक्दैन ।
यी अर्थशास्त्रीले गरेको अभ्यास नेपालमा पनि लागू गर्न खोजिएको छ । इसिमोडले कृषिमा केही काम पनि गरेको छ । एउटा कृषक समूहलाई नयाँ प्रविधि पनि दिने, हलो पनि दिने, बीउ पनि दिने तर त्यही खालको अर्को समूहलाई केही पनि नदिने । एक वर्षपछि नतिजा हेरेर यो प्रयोगले यति प्रगति देखियो यो लागू गरौं भनेर नेपालमा पनि काम भएको छ । सोलार पम्प प्रयोग गर्ने कि नगर्ने भनेर आदीति मुखर्जीले प्रयोग गरेकी थिइन् । तपाईं हामीलाई रहर लागेर गरेको प्रयोगले हुँदैन । परिणाम दिएको त्यसमा पनि समीक्षा भएर जर्नलमा प्रकाशित भयो भने मात्रै प्रयोग गर्न योग्य मानिन्छ ।
दोस्रो आलोचना— सूक्ष्म मात्रै हैन, बृहत् विषय पनि हेरिनुपर्छ भन्ने हो । शासन व्यवस्थाले पनि बिगारिरहेको हुन सक्छ । त्यसमा पनि केही सत्यता होला नि । वैदेशिक ऋण तिर्न नसकेर शिक्षाको बजेट कटौती भइरहेको पनि हुन सक्छ केन्द्रमा । शिक्षक नभएको कक्षाकोठाको फोटो खिचेर हाजिर त गरिएको छ तर उसको तलब नै छैन भने कसरी परिणाम निस्कन्छ ? त्यसकारण सूक्ष्म मात्रै हैन, माथिबाट हुने बृहत् विषय पनि हेरिनुपर्छ ।
नेपालको सन्दर्भमा पनि कृषि आयात बढ्यो भनेर रौतहटका किसानलाई दोब्बर उत्पादन गर्न सक्ने बनाए पनि भारतको अनुदानसँग प्रतिस्पर्धा नै गर्न सकिँदैन भने माथिको समस्या हेर्नुपर्‍यो । त्यसमा नेपाल भारत सन्धिको विषय हुन सक्ला । तर उनीहरूलाई माथिको कुरा मतलब नै छैन । महोत्तरीका किसानलाई दोब्बर उत्पादन गर्न योग्य बनाउनका लागि बीउ दिने कि, अनुदान दिने भनेर दाँजौं जुन बढी प्रभावकारी देखिन्छ त्यही गरौं भन्छन् । यो असाध्यै सूक्ष्म भयो ।
तेस्रो आलोचना— नैतिक विषय पनि छ । एउटा समूहलाई अनुदान दिने, अर्को समूहलाई नदिने टुलुटुलु हेरेर राख्न भएन । वैयक्तिक स्वतन्त्रताको कुरा पनि छ । हरेक काममा आरसीटी गर्न थाल्ने हो भने, खर्च बढी छ । कसरी सक्नु ? एउटा परीक्षण गर्न तीन वर्ष लाग्छ । तथ्यांकीय हिसाबले समान समूहमा परीक्षण गर्नुपर्ने हुन्छ । समानता बनाउन पनि निकै गारो हुन्छ । जति प्रयत्न गरे पनि समान कहिल्यै हुँदैन । कागजमा होला तर साँच्चिकै हुँदै हुँदैन ।
जस्तै गोरखाको मेरो गाउँ बुंकोटमा बाहुन, क्षत्री, मगर, महिला, उमेर मिलाउन नै गारो हुन्छ । कसैको एउटा गाई होला, कसैको नहोला । कसैको जग्गा अलि बढी होला, कसैको कम होला । जतिसुकै समान बनाएर काम गर्छु भन्दा पनि मिल्दैन ।

डेढ सय वर्षदेखि चिकित्सा विज्ञानमा लागू भएको विषयलाई अर्थशास्त्र तथा सामाजिक विषयवस्तुहरू शिक्षा, स्वास्थ्य, माइक्रोफाइनान्स, स्थानीय प्रशासनहरूमा कुन नीतिगत पहल प्रभावकारी हुन्छ भनेर यिनीहरूले क्रान्ति गरे । आरसीटी विधि यिनीहरूको हैन चिकित्सा विज्ञानबाट आएको हो । यिनीहरूमाथिको आलोचना विधि यो मात्रै हैन, वैकल्पिक विधि पनि सोच भन्ने छ ।

माइकल क्रेमर
माइकल क्रमेर पनि हार्वर्डमा पढाउँछन् । उनले भ्याक्सिनमा क्रान्तिकारी काम गरेका छन् । गरिब देशहरूमा हुने रोगहरूको विषयमा पश्चिमा ठूला औषधि कम्पनीहरूले रिसर्च नै गर्दैनन् । किनभने बजार नै छैन । अर्बौं लगानी गरेर रिसर्च गर्ने, त्यसअनुसारको औषधि उत्पादन गरे पनि गरिब देशहरूले किन्दैनन् भनेर ठूला औषधि कम्पनीहरूले बेवास्ता गरे । मलेरिया, मेनेन्जाइटिस, कानमा हुने संक्रमणहरूमा अध्ययन नै छैन । एक अर्ब रुपैयाँसम्मको औषधि किनिदिन्छौं भनेर पहिल्यै ग्यारेन्टी गरिदिने, भ्याक्सिन एलायन्स भन्ने अवधारणा आइसक्यो । यसले दसौं लाख मानिसको ज्यान जोगाउनेछ । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट त्यो पैसा आएको छ । भ्याक्सिन एलायन्सले हस्तक्षेप नगरेको भए, बजार सुनिश्चितता नगरेको भए कहिल्यै सुधार हुने थिएन । बजार हस्तक्षेप गरेर भए पनि काम गर्नुपर्छ भन्ने अवधारणा क्रेमरको हो । एड्भान्स मार्केट कमिटमेन्ट (एएमसी) अवधारणा हो ।

अकर्मण्यताको अन्त्य
उनीहरूको विषयमा कुरा गरिसकेपछि मेरो निष्कर्ष जहाँ प्रणालीगत रोग छैन, त्यहाँ जो कोहीले पनि काम गर्नुपर्छ । गर्न सकिने काम नगरी बस्ने चलन नेपालमा छ । शिक्षामा राजनीतिकरण बढी भयो, व्यवस्था नै परिर्वतन गर्नुपर्छ वा फेरि राजा ल्याऔं अनि ठीक हुन्छ भनेर बस्न भएन । गर्न सकिने कामहरू गर्नुपर्‍यो । तर उनीहरूले भनेजस्तो विश्व गरिबी र अशिक्षाको उन्मूलन चक्की खुवाएर, सानो–सानो काम गरेर मात्रै हुँदैन भन्ने हो । सुझबुझपूर्ण सन्तुलन तरिकाले प्रणाली अघि बढाउनुपर्छ ।
अमेरिका, चीन, भारत देशहरूका कारणले पनि शक्ति सम्बन्ध छ विश्वमा । उनीहरूले व्यापार, लगानी, सम्पत्तिहरू आफूअनुकूल ढालेका छन् । हाम्रो गाउँमा पनि जमिनदार र गरिबहरूको शक्ति सम्बन्धको आयाम फरक छ । यसबाट सिर्जित समस्याहरूलाई उपेक्षा गर्न सकिन्न । तर बिहानै क्रान्ति, दिउसै क्रान्ति भनेर भाषण गर्ने, श्रीमती पिट्ने, १३ वर्षे बालमजदुर प्रयोग गर्ने पाखण्डीपनतिर पनि हामीले हेर्नुपर्छ । बनर्जी, एस्थर र क्रेमरले भनेजस्तो एक किलो दाल दिँदा ६ गुणाले खोप लगाउने बढ्छन् भने त्यसो गर्नलाई कसले रोकेको छ ?

अभिजित–एस्थर जोडी
अभिजितको बंगाली श्रीमती थिइन् । एउटा छोरा पनि थियो । उसको २४/२५ वर्षको उमेरमा मृत्यु भयो । सन २०१४ मा दम्पती भइसकेका थिए । विवाह गरिरहनुपर्ने थिएन । ‘फाइनान्सियल टायम्स’ मा अहिलेसम्म पढेमध्ये यिनीहरूको दाम्पत्य जीवन मलाई रोचक लागेको छ । ‘लन्च विथ एफटी’ भन्ने स्तम्भमा एस्थरले कुरा गरेकी छन् । त्यसको अन्त्यमा गर्भ रहेको कुरा उल्लेख छ । पत्रकारले सोध्छ ? ‘तपाईं प्रेग्नेन्ट हो ?’ ‘यस आएम प्रग्नेन्ट,’ उनी भन्छिन्, ‘एन्ड इट्स अभिजित ।’ खासमा विवाह गर्नुअगावै यस्तो भएको रहेछ । उनीहरू सम्बन्धमा थिए । बच्चा जन्मेपछि औपचारिक भइगयो । उनीहरू अहिले सँगसँगै काम गरिरहेका छन् ।

(अर्थशास्त्री एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा. वाग्लेसँग कान्तिपुरका कृष्ण आचार्यले गरेको कुराकानीमा आधारित)

Page 18
कोसेली

पाँचतले मन्दिरका अनौठा कुरा

पाँचतले मन्दिर बनाउन ११३५३५० वटा इँटा, १०२०३५ वटा तेलिया इँटा, २७०८४ वटा ॅउपा’ किनेर प्रयोगमा ल्याइएको थियो । ती निर्माण सामग्री उत्पादनका लागि नगरबाहिरका आठ स्थानमा इँटाभट्टा खोलिएका थिए ।
- पुरुषोत्तमलोचन श्रेष्ठ

समय परिस्थितिले कोल्टे फेर्दा भ्यागुतोले पनि हात्ती निल्न भ्याउँछ, एक्लो सिंहलाई पनि स्यालहरूको समूहले सजिलै सिध्याउँछन् र लामखुट्टेले पनि हात्तीका चारवटै खुट्टा च्याप्प समाएर हल्लाई हल्लाई खान्छु भन्छन् । (श्रेष्ठ, ‘भैरवचोकका कलाकृति’, भक्तपुर ः १/१७/२०५५) यी कुरा पत्याउनुहुन्न भने भक्तपुर राजदरबारको भैरवचोकमा जानुहोस् । त्यहाँ भित्र पस्नेबित्तिकै देखिने पश्चिमाभिमुख तीनमुखे कलात्मक काष्ठ–झ्यालमुनिका भागमा माथि वर्णित कुरा त ‘लाइभ’ नै देख्न पाउनुहुन्छ ।
अझै पनि विश्वास लाग्दैन भने भक्तपुर सहरका बाजेबज्यै, काका काकीहरूलाई यसबारेमा सोध्नुहोस्, उहाँहरूले त मल्लकालदेखि लोकजीवनमा जीवन्त रहिआएको यस विषयको थप पूरै गीतसमेत सुनाउन पुग्छन् । गम्भीर भएर यस विषयमा अलिकता गहिरिएर विचार गरेपछि तपाईंको अन्तःस्करणबाट अनायास उठ्ने उत्तरले नै तपाईंलाई माथिका कुरा ‘सत्य रहेछ’ भनी पत्याउन बाध्य पार्छ । बलभन्दा बुद्धि ठूलो हो । बुद्धिले बल हुन्छ । बुद्धिले ‘कमान्ड’ गरेको एकीकृत बलले समूहको अद्भुत बल पैदा गर्छ र त्यस्तो बलले सिर्जना हुने कृति पनि उस्तै अतुल्य र अद्भुत हुन्छ । पत्याउनुहुन्न भने छ महिनाको छोटो समयावधिमा निर्माण सम्पन्न भएको पाँचतले मन्दिरलाई नै हेर्नुहोस् ।
नेपालमण्डलका तीनवटै सहरमा पाँचतले मन्दिरहरू छन् । तैपनि ‘पाँचतले मन्दिर’ को स्मरण मात्रले पनि हाम्रो आँखासामुन्ने भक्तपुरकै विश्वप्रसिद्ध पाँचतले मन्दिर झल्झली नाच्न आइहाल्छ । सो मन्दिर तत्कालीन भक्तपुरका राजा भूपतीन्द्र मल्ल (नेसं ८१६–८४२) ले बनाउन लगाएका हुन् । जति हेरे पनि हेरिरहूँजस्तो लाग्ने यो विशाल मन्दिर जति सुन्दर छ, उस्तै भव्य छ । नेपालको यो एकमात्र सबैभन्दा अग्लो (१०८ फिट/३३.२३ मिटर अग्लो) बहुछाने शैली मन्दिर हो । वास्तुतन्त्र विधिअनुरूप बनेको यस मन्दिरको गर्भस्थानमा वेताल+भैरव+रूद्रासन गरेकी सिद्धिलक्ष्मीदेवीको मूर्ति (माथि एक मुख+त्यसमुनि तीन मुख+त्यसमुनि पाँच मुख गरी ९ मुख र १६ हात भएकी) प्रतिष्थापित गरिएको छ । मन्दिरको भव्यता विचार गर्दा ‘भूपतीन्द्र मल्लले धेरै वर्ष लगाएर बनाउन लगाएका होलान्’ भन्ने लाग्छ सक्छ ।
भूपतीन्द्र मल्लले ङातापोल देवल बनाउन लगाउनुभन्दा पहिले टौमढीटोलमा ‘ङातापुल’ नामको पाँचतले मन्दिर थियो । ङातापोलल देवल (वर्तमानको पाँचतले मन्दिर) बनाउनका लागि ङातापुल भत्काइएको नूतन तथ्य पनि थाहा हुन आएको छ । राष्ट्रिय अभिलेखालयमा रहेको ग्रन्थ ‘सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा’ बाट यो रहस्य खुलेको हो । डा. जनकलाल वैद्यले पत्ता गाएको यो ग्रन्थबाट अरु पनि रोचक कुरा थाहा भएका छन् । पुरानो मन्दिरलाई नेसं ८०१ के भूकम्पले भत्काएको पो थियो कि भन्ने अनुमान पनि छ ।
पाँचतले मन्दिरको निर्माणकार्य नेसं ८२२ पौष कृष्ण त्रयोदशी, बुधबारको दिनबाट आरम्भ भएको प्रमाण सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा लगत–ग्रन्थको पत्रांक १ ख बाट प्रष्ट हुन्छ । मन्दिरको टुप्पोमा रहने गजूर पूर्णताको प्रतीक हो । पाँचतले मन्दिरको निर्माणकार्य पूरा भएपछि नेसं ८२२ आषाढ सुदि १ मा सो मन्दिरको टुप्पोमा गजूर राख्ने काम भएको रहेछ ।
भूपतीन्द्र मल्ल र जनताको एकीकृत शक्तिले मिलेर काम गर्दा नेपालकै सबभन्दा विशाल मन्दिर ६ महिनाको छोटो समयावधिमा बनेको देखिन्छ । मन्दिर निर्माण कार्य पूरा गरी गजूर हालेको उत्सव–दिनको स्मरण गर्दै हरेक वर्षको आषाढ सुदि १ मा पाँचतले मन्दिरको वर्षबन्धन पुजा र, त्यसको भोलिपल्ट भक्तपुर तलेजुमा ब्राह्मण, जोशी र कर्माचार्यहरूद्वारा पञ्चोपचारसहितले ‘था पूजा’ (कुनै विशेष कार्य सम्पन्न भएको उपलक्षमा गरिने तान्त्रिक पूजाविशेष) गर्ने चलन आज पनि छ । पाँचतले मन्दिर निर्माण भएको अवसरमा भूपतीन्द्र मल्लले सो मन्दिरकै अगाडिको ठूलो डबलीमा (तह्राँ दवु) सिद्धाग्नि कोट्याहुति यज्ञ गर्न लगाएका थिए । त्यस अवसरमा उनले यज्ञकर्ता पुरोहित ब्राह्मण, जोशी र कर्माचार्यहरूलाई स्वर्णमुकुट प्रदान गरेका थिए । आफ्ना पूर्वजलाई प्रदान गरेको स्वर्णमुकुटलाई त्रिपुर विद्यापीठ आगमका कर्माचार्यहरूले आज पनि जोगाएर राखेका छन् । सो स्वर्णमुकुटको पार्श्वभागमा कुँदिएको अभिलेख यस प्रकार छ ः श्रीश्रीजय भूपतीन्द्र मल्लदेवसन सिद्धाग्नि कोट्याहुति यज्ञ यातं दयका ।। सं.८२२ जेष्ठ शुदि ९ शुभ ।।’ (श्रेष्ठ २००२, पृष्ठ ८५)
पाँचतले मन्दिरको प्रतिष्ठा नेसं ८२२ आषाढ महिनामा भएको रहेछ भन्ने कुराको थप प्रकाश पार्ने पहिलो शिलालेख प्रमाण भक्तपुर राजदरबारको अनुसन्धानको क्रममा त्यहाँको एउटा ठूलो इनार भएको चोक ‘तुंथि चुक’ बाट पत्ता लाग्न आएको छ । (सो शिलालेख अहिले राष्ट्रिय कला संग्रहालयमा राखिएको छ) ।
यी माथिका थप प्रमाणहरूबाट पनि पाँचतले मन्दिरको निर्माण ६ महिनाको छोटो समयावधिमा सम्पन्न भएको थियो भन्ने कुरा निश्चित रूपले ज्ञात हुन्छ । र, यसरी असम्भव भन्नेहरूका लागि एउटा अनुपम उदाहरण हो पाँचतले मन्दिर । एकतामा बल छ वा भनौं ‘म’ होइन ‘हामी’ भई मिलेर काम गरेमा अविश्वसनीय लाग्ने जस्तोसुकै असम्भव काम पनि आश्चर्यचकित पार्ने अद्भुत ढंगले सम्पन्न हुँदो रहेछ भन्ने कुराको अतुल्य उदाहरण हो पाँचतले मन्दिर । यति कुरा थाहा भएपछि ‘संसारका सात आश्यर्च’ मा एकपल्ट पुनर्विचार गरी तिनको संख्यालाई आठ पुर्‍याएर तीमध्येको एउटा उदेकलाग्दो आश्चर्यमा अब पाँचतले मन्दिरलाई राख्नतिर लाग्ने होइन र !
बुद्धिले बल हुन्छ । बुद्धिले परिचालित हुने एकीकृत बलले पत्याउनै नसकिने गरी चौतर्फी विकास र सिर्जना हुन्छ, सुन्दरता र शोभा ल्याउँछ । देश विकास हुन्छ, बलियो हुन्छ, बाहिरकाले हेप्न सक्दैन । देशलाई आत्मनिर्भर तुल्याउँछ । मलाई लाग्छ यो मन्दिरबाट हामीले लिनुपर्ने एउटा सन्देशदृष्टान्त यो पनि हो ।
पाँचतले मन्दिरको निर्माण भएलगत्तै अनेक सांगीतिक कार्यक्रमहरू पनि भए । त्यस बेला गाइएको तल प्रस्तुत एउटा दाफा भजन भने आज पनि गुञ्जने गर्छ । (ठाकुरलाल मानन्धरको पुलांगु मे मुना, प्रथम संस्करण, पृष्ठ १९–२० मा सर्वप्रथम प्रकाशित । भावानुवाद ः वैद्य ः २०६१, पृष्ठ ६२)
राग
जयभूपतीन्द्र मल्ल धरममूरती ।।ध्रु।।
वसन देगोल दाङ देवी प्रीतिन ।। .....
नसे च्याया दथुसं नसे ताङाव ।।
दितरा थोकया पादु जुया दिन जाव धरममूरती ।।
क्वथु फले जयप्रताप वया चोसं किसि ।।
सिंह शार्दूल अना अतिशोभा जुल धरममूरती ।।
ङातपोलया चोसं छाल लुंगजुल ।। ......
वसन जज्ञ यात कोटी आहुति ।।
बिल पुरोहितयात मूल लुंमुकुति ।। ......
(भावानुवाद ः धर्म–मूर्ति स्वरूप भएका राजा भूपतीन्द्र मल्लको जय होस् । उहाँबाट देवी सिद्धिलक्ष्मीप्रति प्रीति भक्ति चढाउने हिसाबले पाँचतले मन्दिर बनाउन लगाउनुभयो, नेसं ८२२ आषाढ शुल्क पक्ष प्रतिपदा तिथि दिनमा उक्त मन्दिरमा देवी प्रतिमा र मन्दिरमाथि सुनको गजुर चढाउनुभयो । मन्दिरका फले पेटीका पाँचै तह छन् । त्यसमा स्थापना गरिएका मूर्तिहरूमध्ये सबभन्दा तल्लो पेटीमा जय मल र प्रतापको मूर्ति युगल, त्यसपछि क्रमशः माथि एक जोर हात्ती, एक जोर सिंह शार्दूल (एक जोर अद्भुत जनावर), सिंहिनी, ब्याघ्रिनी देवी र चारै कुनाका गणेशहरूका मन्दिरहरूका साथमा त्यस मन्दिर शोभायमान् भएका छन् । उहाँले कोटि आहुति यज्ञ गराउनुभयो । मूल पुरोहितलाई सुनको मुकुट उपहार दान दिए । त्यस्ता धर्ममूर्ति राजा भूपतीन्द्र मल्ल धन्य हुन् ।)

यसरी माथि उल्लिखित अन्य प्रमाणलगायत यस गीतमा आएको ‘नसे च्याया दथुस नसे ताङाव’ ले पनि पाँचतले मन्दिर ने.सं.८२२ मा बनेको रहेछ भन्ने कुराको थप पुष्टि मिल्छ । रोचक कुरा के छ भने यहाँ संवत्लाई अंकमा नभएर शब्दमा घुमाउरो ढंगले प्रस्तुत गरिएको छ र त्यो पनि गीतकै एक बोल वा पंक्तिका रूपमा । संवत्लाई अक्षर वा शब्दद्वारा पनि प्रस्तुत गर्ने परम्परा प्राचीनकालदेखि पूर्वमध्यकालसम्म पनि चलेको देखिन्छ । यस्तो परम्परा उत्तरमध्यकालदेखि भने प्रचलनमा आउन छाडेको विदित हुन्छ । यसैले यस गीतमा आएको संवत्लाई अपवादको रूपमा वा विरलाकोटि उदाहरणको रूपमा मान्न सकिन्छ । साथै शब्दद्वारा प्रस्तुत संवतलाई अंकमा ल्याउनुपर्दा त्यस्ता अंक बायाँबाट वा उल्टो गणना गर्ने मान्यता वा पद्धति प्रचलित रहेको पाइन्छ ।
सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा ग्रन्थ (डा. वैद्य, २०६१) को अध्ययनबाट यस मन्दिरका बारेमा अन्य रोचक तथ्य पनि खुल्न आएको छ । तीमध्ये केही निम्नलिखित छन् ः
पाँचतले मन्दिर बनाउनका लागि ११३५३५० वटा इँटा, १०२०३५ वटा तेलिया इँटा, २७०८४ वटा ‘उपा’ किनेर प्रयोगमा ल्याइएको थियो । ती निर्माण सामग्री उत्पादनका लागि नगरबाहिरका आठ स्थानमा इँटाभट्टा खोलिएका थिए । थिमिबाट पनि ‘चिकपा’ ल्याइएको थियो ।
पाँचतले मन्दिरको गजूर ४० धार्नीको छ । त्यसमा ३७ तोला सुनको जलप लगाइएको थियो । यस मन्दिरको छानामा झुन्ड्याउनका लागि बनाइएका ५२९ वटा ‘फय् गं’ (हावा चलेर बज्ने सानो घण्ट) मध्ये माथिल्लो छानादेखि क्रमशः ४८, ८०, १०४, १२८, १६८ झुन्ड्याइएका थिए र एउटा बाँकी रहन पुगेको थियो । बचेको सो घण्टलाई अशुभ ठानी ‘पाँचतले मन्दिरमा एउटा फय् गं छ । सो बजेमा वा बजाएमा ठूलो हावाहुरीसहित बेस्सरी पानी पर्छ’ भन्ने लोककथन छ ।
भक्तपुर सहरका चौबीसै टोल, सात ग्रामप्रदेश, ललितपुरलगायत वरपरका छिमेकी ग्रामप्रदेश गरी हजारौं कामदारको एकीकृत शक्तिले छोटो समयावधिमै यो मन्दिर निर्माण सम्पन्न भएको अपार सफलताको खुसियालीमा राजा भूपतीन्द्र मल्लले सबैप्रति कृतज्ञता दर्साउँदै, अतिथि सत्कार गर्दै राष्ट्रिय स्तरको विशाल भोज ‘तःभ्वय्’ को आयोजना गरेका थिए जुन भोजमा सबै जातका गरी २० हजारभन्दा बढी अतिथि भेला भएका थिए ।
अनेकतामा एकताको प्रतीक हो पाँचतले मन्दिर । व्यक्तिवादी ‘म’ हैन, जनवादी ‘हामी’ भई मिलेर काम गर्ने आदर्श भावको अनुपम उदाहरण प्रतीक हो पाँचतले मन्दिर । यस मन्दिरको अनेक महत्त्वलाई बुझेर विसं २०१९ सालमा तत्कालीन राजा महेन्द्रले यस मन्दिरको जीर्णोद्धार गर्न लगाएका थिए । विसं २०५६ मा भक्तपुर नगरपालिकाले यस मन्दिरको जीर्णोद्धार गरेको थियो । समय–समयमा हुने जीर्णोद्धारले सम्पदा मजबुत रहिरहन्छ, ढल्न पाउँदैन । जीर्णोद्धार नभएको भए सायद यो मन्दिर आज हाम्रोसामु यसरी खडा रहने पनि थिएन होला, विसं २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले यसलाई ढालिसक्ने थियो होला । सो भूकम्पले यस मन्दिरको माथ्लो तलामा भने केही क्षति पुर्‍याएको छ ।
जे होस् ! शिर ठाडो पारेर यो मन्दिरलाई हेरिरहँदा यस्तो पनि प्रतीत हुन्छ मानौ यसले ढल्न जानेकै छैन । र भूकम्पहरूको इतिहासलाई हेर्दा कुनै पनि महाभूकम्पले यसलाई ढाल्न सकेकै छैन ।
नेपाल र नेपालीले गौरव गर्ने यो पाँचतले मन्दिरको संरक्षण संवर्द्धन यसरी बेलाबखतमा हुँदै आएको देखिन्छ । र यो पंक्ति लेख्दासम्ममा खुला आकाशको पृष्ठभूमिमा तहतह परेका विशाल पखेटा फिँजाएर मन्दिरलाई उडाइरहेका झैं लाग्ने यसका सुन्दर छानाहरूमा घाँस पनि उम्रेका छन् । आशा छ, फेरि पनि यसको जीर्णोद्धार हुनेछ । र भरोसा छ, भोलिका हाम्रा पुस्ताका माझमा पनि सगौरव यो अनुपम, अद्भुत निधि उस्तै शानले उठिरहनेछ ।

कोसेली

बिरानो हुादै डोकेनी

 

पुरुषहरू जाँडरक्सी र जुवातासमा रमाउन थाले । युवायुवतीहरू देउसीभैलो र नाचगानमा हिँडेपछि घरमा वृद्धवृद्धा र केटाकेटीहरू मात्र बाँकी रहे । यस्तो बेला घरधन्दा र कामको बोझले आजित भएका महिलाहरू विद्रोह गर्ने निधोमा पुगे । विद्रोहको अगुवाइ गर्ने महिलाहरूले आफ्नै लोग्नेको लुगा लगाएर पुरुषको भेष धारण गरे । अनुहारमा मोसो दले, मुखुण्डो लगाए । गर्भवती, सुत्केरी र अशक्त महिलाहरूलाई पनि साथैमा लगे । सुत्केरी हुन लागेकी श्रीमतीलाई समेत बेवास्ता गर्दै आफूहरू मात्र रमझममा भुलिरहेका पुरुषहरू खोज्दै गाउँ–गाउँ डुले । ती विद्रोही महिलाहरू जुवातासको खाल र अखडासम्म पुगे । तास च्यातिदिए । कौडा फ्याँकिदिए । त्यसैको प्रतिकस्वरूप घरपरिवारलाई बिर्सेर जुवातासमा भुल्ने पुरुषहरूलाई चेतावनी दिँदै डोकेनी नाचिएको हो । एउटा किंवदन्तीअनुसार डोकेनी नाचको सुरुआत यसरी भयो ।
घाँसदाउरा बोक्ने डोकोलाई घोप्ट्याएर त्यसको तल्लो भागमा छिटको गुन्यु र माथिल्लो भागमा चौबन्दी चोली लगाइन्छ । बीचमा पटुकी, त्यसमाथि खाँडीको पछ्यौरी ओढाइन्छ । घोप्ट्याएको डोकोको पिंधमाथि टाउकाको आकृति बनाएर त्यसमा शिरबन्दी र शिरफूल, कानमा ढुंग्री र चेप्टे सुन अनि नाकमा बुलाकी । डोकाको बीचबाट दुईपट्टि सिन्का छिराएर हात बनाइन्छ । हातमा चुरा र कल्ली । यो हो डोकेनी तयार पार्ने तरिका ।
दौरा सुरुवाल, इस्टकोट र टोपी पहिरिएको अनि अनुहारमा मुखुण्डो लगाएको पुरुष भेषको पात्रले डोकेनीको सुरक्षा गर्छ । कसैले जिस्क्याए धनुकाँडले हान्न खोज्दै धपाउँछ । डोकेनीलाई विभिन्न हाउभाउ गर्न याक्खा भाषाबाटै अह्राउँछ । अनि सबैसँग सहयोग माग्दै भन्छ, ‘मेरो बूढी सुत्केरी हुनेवाला छ,’ ‘मसला किन्ने पैसा दे’ । आदेशअनुसार डोकोभित्र रहेको व्यक्तिले सिन्काको हातको सहायताबाट नमस्कार, सलामजस्ता विभिन्न हाउभाउ गर्छ । डोकेनी नाच यसरी नाचिन्छ ।
तर, सामाजिक परिवर्तन वा सांस्कृतिक अतिक्रमण वा अरू नै कुनै कारणले हो, पूर्वी नेपालको संखुवासभा जिल्लामा मुख्य बसोबास रहेको आदिवासी याक्खा जातिको यो परम्परागत मौलिक संस्कृति ‘डोकेनी नाच’ हराउँदै जान थालेको छ । तिहारमा औँसीको रात घर–घरमा नाचिने यो नाच पछिल्लो समय याक्खा समुदायकै गाउँबस्तीमा ‘बिरानो’ हुँदै गएको मात्र छैन, लोप प्रायः भइसकेको छ । केही स्टेज कार्यक्रमहरूमा प्रस्तुत गरिनुबाहेक तिहारमै भने डोकेनी नाचेको बिरलै देख्न पाइन्छ । याक्खाहरूको ऐतिहासिक थुम (प्रशासनिक इलाका) हरूमध्ये दशमझियामा मात्र यो नाच अस्तित्वमा छ । बाँकी पाँचमझिया र पाँचखपनमा भने डोकेनी नाच्ने प्रचलन हराई नै सकेको छ ।
दशमझियाको पनि केही गाउँहरूमा मात्रै डोकेनी नाचिने गरेको याक्खा जातिको इतिहासका खोजकर्ता मागमान जिमी बताउँछन् । नेपाली समाजको पहिचानसँग जोडिएको यस्तो सांस्कृतिक सम्पदा लोप हुन लागेकोप्रति उनले चिन्ता व्यक्त गरे । उनी भन्छन्, ‘याक्खा समुदाय र याक्खाहरूको सामाजिक संस्था किराँत याक्खा छुम्माले चासो नदेखाए यो नाच केही वर्षमै हराएर जाने ठूलो सम्भावना छ ।’ बाह्य सांस्कृतिक अतिक्रमणका कारण याक्खा जातिको संस्कार र संस्कृतिहरू लोप हुँदै वा यसको मौलिकता हराउँदै गइरहँदा डोकेनी पनि लोपोन्मुख भएको जिमीको ठम्याइँ छ । डोकेनीजस्ता विभिन्न जातजातिले अपनाउँदै आएको नेपालका मौलिक संस्कृतिहरूको जगेर्नाका लागि राज्यले पनि चासो दिनुपर्ने उनको भनाइ छ ।
पछिल्लो समयमा याक्खा समुदायको विभिन्न सामाजिक संघसंस्थाहरूले गर्ने डोकेनीको प्रस्तुतिमा एकरूपता नभएका कारण पनि यसको मौलिक शैली संकटमा परेको कतिपयको बुझाइ छ । नाच्ने शैलीमा एकरूपता नभएकाले पनि डोकेनीप्रतिको बुझाइमा भिन्नता आउन थालेको छुम्माका केन्द्रीय उपमहासचिव सोनाम याक्खा बताउँछन् । ‘डोकेनी कुनै प्रकारको वाद्यवादनबिना नै नाचिने नाच हो । मैले बुझेअनुसार डोकोभित्रको मानिस बसेको हुनुपर्छ, उभिने होइन,’ उनले भने, ‘तर आजभोलि ट्र्याक बजाएर वा केई (ढोल) बजाएर नाच्ने गरिएको छ । यो मौलिक शैली होइन ।’ डोकेनीलगायतका अन्य संस्कार संस्कृतिहरूमा एकरूपता ल्याउन छुम्मामार्फत पहल भइरहेको उनले बताए । डोकेनी नाचको सुरुआत कहिले र कसरी भयो भन्नेबारे याक्खा समुदायमा बेग्लाबेग्लै जनश्रुति पाइन्छ । तर यो नाच तिहारमा र महिलाहरूले मात्र नाच्ने भन्ने विषयमा भने एकमत छ ।
अझै पनि जुवातासको खेलिरहेको भेटे डोकेनी समूहले पैसा खोस्ने र जुवाडेहरूलाई लात्ताले हिर्काउनसमेत याक्खा समुदायमा छुट हुने तत्कालीन दशमझिया थुमअन्तर्गत संखुवासभा तामाफोककी ५० वर्षीया कमला लिम्बुहिम बताउँछिन् । डोकेनी नाचमा महिलाहरू मात्र सहभागी हुने भएकाले कुनै समयको त्यही विद्रोहको परिणामस्वरूप आजको समानतामूलक याक्खा समाज निर्माण भएको हुन सक्ने छुम्माका केन्द्रीय सदस्य विजयसेन सोम्याहाङले बताए । सामाजिक विकृतिको विरुद्ध भएको विद्रोहको प्रतिकस्वरूप नाचिने यो नाचको संरक्षण र संवर्द्धनमा संस्थाको ध्यान नगएको उनी स्विकार्छन् ।
देउसीभैलो र नाचगान निषेध गर्ने याक्खा जातिको ‘तेनताम्मा’ पूजाको कारण पनि डोकेनी नाच लोप हुने अवस्थामा पुगेको कतिपयको बुझाइ छ । अन्नबालीको ‘सहकाल’ डाक्न एक वर्ष बिराएर गरिने तेनताम्मा पूजापछि गाउँघरमा सुसेली हाल्न, बाँसुरी मुरली बजाउनसमेत वर्जित हुन्छ । यसरी तेनताम्मा पूजा गरेको वर्ष डोकेनी नाच्नसमेत छुट्ने हुँदा बिस्तारै यो बिर्सदैँ गएको केहीको भनाइ छ ।

भीम देवान

Page 19
कोसेली

बुद्धिको विस्खलन

- शिव प्रकाश

 

मान्छेको मस्तिष्क नै मान्छे हो– जे सोच्छ त्यही बन्छ । बुद्धको ‘माइन्डफुलनेस’ को निचोड !
पालि भाषाको ‘सम्मासती’ अष्टाङ्गमार्गभित्रको उज्यालो उन्मुख एकमार्ग हो– माइन्डफुलनेस । बुद्धि प्राप्त गरेपछि मात्र बुद्ध ज्ञानको खोजीमा निस्किएका थिए । बुद्धले त्यो बुद्धि कहाँबाट प्राप्त गरे ?
एकै थिए— श्रीकृष्ण र सौम्य, दुवै सारथि । फरक थिए— समय र सवारपात्र, अर्जुन र बुद्ध । श्रीकृष्ण नै हुन् कारयताका काढा उम्रिएको अर्जुनको मस्तिष्कपटमा बुद्धिको बीउ छर्ने । महाभारत जित्ने र जिताउने । सौम्य नै हुन् सिद्धार्थलाई बुद्ध बनाउने र बुद्धलाई बुद्धि दिने पहिलो गुरु । दरबारका राजकुमारलाई रथमा राखेर जन्म, दुःख र मृत्युको दर्शन गराउने आर्य सत्यका आचार्य । चाँण, चन्ना र छन्दक पनि उनै हुन् ।
सिद्धार्थ पनि शासक थिए— शक्तिशाली शाक्य गणराज्यका राजकुमार । धेरै शासकजस्तै उनी पनि बुद्धि–विमुख हुन्थे भने सौम्यको बुद्धिको बीउ उनका लागि अपमान हुन्थ्यो । सौम्यलाई मृत्युदण्ड दिन्थे वा कठोर कारावास । उनी एउटा राज्यको शासक बन्थे, मर्थे, सकिन्थे । आज यो संसारमा अर्को सूर्य उदाएको छ, बुद्धिको सूर्य– बुद्ध ! नेपालमा अर्को सगरमाथा उभिएको छ, बुद्धिको सगरमाथा– बुद्ध । विडम्बना– बुद्ध र बुद्धिभूमि नेपाल निराशाको अँध्यारो भासमा डुब्दै छ ! बुद्धिका विपर्याय वारेसहरूको विलक्षण प्रतिभाको प्रदर्शन भइरहेको छ । नग्ननृत्यको निरीह दर्शक बनेको छ– नेपाल ।
वास्तवमा बुद्धलाई भगवान् हैन, बुद्धिका रूपमा मानिसले स्वीकार गरे । तर भक्तिका नाउँमा भावनाको व्यापार गर्ने व्यापारीहरूले अनेक भगवान् बनाए– बुद्ध पनि एक भए । उनलाई त्योभन्दा ठूलो भगवान् मूर्तिका व्यापारीहरूले बनाए । यद्यपि बुद्धिको सामाजशास्त्रीय विस्खलन आजपर्यन्त छ– झन् बढी छ । बलसामु समाज झुक्छ तर बुद्धिसामु बल झुक्न बाध्य हुन्छ । कालजयी उपमा बनेका छन्– एक शिक्षक ।
शक्तिशाली कुनै शासकले सकेनन् तर ती शिक्षकले विश्वविजेता एलेक्जेन्डर महान्लाई हराए । बुद्धिसँग बल हार्न बाध्य भएको एउटा बलियो उदाहरण हो, यो । संसार जित्दै इरानी क्षेत्रबाट हिन्द उपमहाद्वीपतिर बढेका एलेक्जेडर सतलुज नदी (हाल पाकिस्तानको पन्जाब) तर्न पाएनन् । त्यहीँ घुँडा टेके, फर्किन बाध्य भए विश्वविजेता । बग्दादमा उनको मृत्यु भयो । एउटा मत छ– औलोले हैन, ती शिक्षकले प्रहार गरेको वाँणबाट एलेक्जेन्डर घाइते भएका थिए । त्यही घाउ पाकेर अधिक ज्वरोको कारणले उनको मृत्यु भयो ।
बुद्धिको स्वाभाव फरक छ । बिक्नु र झुक्नुमा झन् ठूलो फरक छ । बुद्धिहरू बलसामु प्रशस्तै बिकेका छन् तर विरलै झुकेका छन् । बलसामु कहिल्यै नझुकेका ती शिक्षक अरू कोही होइनन्, धेरैले सुनेका तिनै चाणक्य हुन् । तक्षशिलाका आचार्य– बुद्धिको एउटा जिउँदो विम्ब अर्थात् चाणक्य विष्णुगुप्त । रहस्यमयी वात्स्यायन अर्थात् कामसूत्रका सूत्रधार पनि मानिन्छन् उनी !
बललाई ठूलो शक्ति मानिन्छ तर निर्धामाथि शासन गर्ने स्वाभाव–प्रवृत्त बुद्धिविमुख शासकहरूले खेलाउने एक कमजोर हतियार हो– बल । नत्र रोमेनियाका भ्लाडहरू, भारतका शहंशाह र सम्राट्हरू, रुसका रुरिकिड, जार र स्टालिनहरू, नेपालका राणाहरू कहिल्यै ढल्ने थिएनन् । ‘आजाद’ भारत आन्दोलनमा बन्दुकभन्दा महात्मा गान्धीको बुद्धि बलियो भयो । बल स्वयं चल्दैन । बललाई चलाउन अर्को बल चाहिन्छ । बललाई चलाउने त्यो अर्को बलको नाम हो– बुद्धि । तर सत्ताको स्वाभाव स्वाँठ भैदियो भने बुद्धिलाई बलले जित्न खोज्छ । धनानन्द बलशाली थियो तर त्योभन्दा बढी मूढताको भारी थियो । चाण्डाल थियो तर चतुर थिएन ।
आफ्नै भूमिमा उम्रिएको बुद्धिको बटवृक्षको छायामा धनानन्द बसेको भए आज भारतको इतिहास र भूगोल फरक हुन्थ्यो । बुद्धिको कदर गर्न सकेन । देश निकाला गरिदियो ती शिक्षकलाई । सम्राट् धनानन्दको वंश समूल नास गर्ने प्रतिज्ञा गरे । प्रतिज्ञाअनुसार ती शिक्षक आफ्नै शिष्य चन्द्रगुप्त मौर्यलाई मगधको सम्राट् बनाए । ती शिक्षक अरू कोही थिएनन्– उनै चाणक्य थिए । इसापूर्व ३०० तिरको त्यो विशाल मगध साम्राज्य चाणक्यको बुद्धिको शिखामा बाँधियो ।
बुद्धि कसका लागि ? यो प्रश्न त्यतिखेर जटिल बन्यो, जति बेला तिनै चन्द्रगुप्तले कौटिल्य अर्थशास्त्र ग्रहण गर्न चाहे । तर गुरु चाणक्यले उनलाई दिन अस्वीकार गरे । बरु जलाएर भस्म पार्ने आदेश दिए । बुद्धिले विनाश निम्त्याउँछ– यदि बुद्धिविमुख शासकका हातमा बुद्धि पर्‍यो भने । धनानन्दको अवसान पछि मात्र चन्द्रगुप्तलाई त्यो शास्त्र दिने वचन दिए । बुद्धि आफ्ना लागि नभएर समाज र राज्यका लागि हो तर त्यो बुद्धि ग्रहणयोग्य व्यक्तिलाई मात्र प्राप्त हुनुपर्छ । बुद्धि–विक्रान्त चाणक्यबाट चन्द्रगुप्तले यही बुद्धि पाए । आइन्सटाइनको बुद्धिले परमाणुमा शक्ति भेटायो । त्यही बुद्धि उत्तर कोरिया र इरानका लागि भस्माशूरलाई महादेवको वरदानजस्तो भएको छ । संसारलाई कणको कुण्डमाथिको प्रेसरकुकर ठानेका छन् उनीहरूले । किताब बालेर आगो ताप्ने प्रथम चिनियाँ बादशाह चिङ् सी ह्वानजस्तै आणविक भट्टीमा संसार जलाएर आगो ताप्न खोजिरहेका छन् ।
किताब पढे ज्ञान–बुद्धि प्राप्त हुन्छ । जलाए आगो ताप्न पाइन्छ । बुद्धिमाथि बलको प्रयोगले विनाश निम्त्याउँछ । आज संसार ‘बुद्धि–विमुख’ त्रस्त मानोविज्ञानमा बाँचेको छ । के अमेरिका कमजोर हुनु भनेको संसारमा संकट मडारिनु हो ? प्रश्न सायद अस्वाभाविक हैन ! आजपर्यन्त बुद्धिबाट धेरै सत्ता र शासक सधैं वञ्चित रहे । बल बाधक भयो– बुद्धिको वर्णपटलाई शासकहरूले भैंसीको चित्र ठाने ।
१८औं शताब्दीमा पनि फ्रान्समा बुद्धिका कीराहरूको कमी थिएन । भोल्टेयर, रुसो, दिदेरोजस्ता बुद्धिका ती कीरा मार्न उन्मुख भयो फ्रान्सेली राजतन्त्र । बुद्धि विस्खलनको यो अर्को उदाहरण हो भने बुद्धि र बलको अर्को महाभारत तथा बलको पराजयको नयाँ क्रम पनि । संसारकै लामो राजतन्त्रमध्येको फ्रान्सको क्याप्सन डाइनेस्टी (सन् ४८६ देखि १८७०) का लुई सोह्रौं मात्रै बुद्धिको झिनो पर्याय पात्र बन्न सकेको भए भोल्टेयरले ‘लेटर्स अन द इङ्लिस’ लेखेर जनता जगाउनुपर्ने थिएन । रुसोले ‘सोसल कन्ट्रसन’ मा लेख्नुपर्ने थिएन, ‘मानिस स्वतन्त्र जन्मन्छ र सर्वत्र जन्जिरमा बाँधिन्छ ।’ दिदेरोले भ्रष्ट र निरंकुश शासनका बिरुद्ध बोल्नु पर्ने थिएन । मेन्टस्क्युले दैवी अधिकारको खण्डन गर्नु पर्ने थिएन । फ्रान्सेली राज्यक्रान्तिको जन्म नभएको भए धेरै देशको भौगोलिक र सामाजिक संरचना फरक हुन्थ्यो, तर कस्तो हुन्थ्यो ? कसैले भन्ने आँट गर्न सकेका छैनन् । प्रजातन्त्रको परिभाषा र स्वरूप कस्तो हुन्थ्यो ? त्यो पनि कसैले सोच्न सकेका छैनन् । बलले फ्रान्समा नरसंहार निम्त्यायो भने बुद्धिले संसारलाई नयाँ बाटो देखायो । फ्रान्सेली राज्यक्रान्ति संसार परिवर्तनको पाठशाला मात्र बनेन उदारीकणको विश्वविद्यालय पनि बन्यो ।
महाभारत कसले जित्यो भन्ने प्रश्नको सार्वभौम उत्तर पाण्डव हो तर सत्य होइन । घटोत्कचका छोरा बर्बरिकका आँखाले देखेका महाभारतका एक मात्र विजेता थिए– श्रीकृष्ण । श्रीकृष्ण बलभन्दा बढी बुद्धि हुन् । बुद्धिको जित थियो महाभारत । आमा अहिल्यावतीबाट दीक्षा प्राप्त बर्बरिक हार्नेका पक्षबाट युद्ध लड्न आउनु नै पाण्डवको हार निश्चित थियो । आफ्नो एक वाँणले महाभारतको युद्ध जित्ने शक्तिशाली बर्बरिक अन्ततः श्रीकृष्णको बुद्धिसामु आफ्नै बलि चढाउन राजी भए । श्रीकृष्णले रणचण्डीलाई बर्बरिकको बली चढाए । बर्बरिकलाई युद्धबाट वञ्चित गराउनु नै श्रीकृष्णको बुद्धिको जित थियो– पाण्डवहरू आवरण मात्र थिए । यद्यपि श्रीकृष्णलाई सर्वव्यापी र सर्वशक्तिमान मानिन्छ । तर चरालाई रूखको हाँगामा हैन आफ्नो पखेटामा विश्वास भएजस्तै आफ्नो बलभन्दा बुद्धिमा बढी विश्वास थियो, श्रीकृष्णलाई पनि ।
बाध्यता जीवनको वैकल्पिक आवश्यकता बनिदिन्छ– स्विकार्न बाध्य हुन्छ मानिस । बुद्धिले मानिसलाई झुकाउँछ तर मनलाई जिताउँछ । बुद्धिले भन्दा छिटो बलले मानिसलाई झुकाउँछ तर सधैं तर्साउँछ । तर्साएर हराउँछ । बल, जसलाई राजनीतिक शब्दमा शक्ति भनिन्छ । त्यो शक्तिसँग जर्ज फ्रिड्रिच हेगल हारे । जोसेफ चिलिङ हारे । ह्विलहम डिल्थे हारे । अथर सोपनआवर हारे । नित्सेका नवीन चेतहरू हारे । आफ्नै भूमिमा कार्ल मार्क्सका कालजीवी विचारहरू पनि हारे । हार्नेहरू व्यक्ति हैन, बुद्धि थिए– आधुनिक विचार र दर्शनले कुँदिएका बुद्धि ।
संसारलाई के दिएन जर्मनीले ? ज्ञान–विज्ञान, आचार–विचार, चेत–चेतना, युक्ति–बुद्धि, दिशा–दर्शन सबै दियो । तर १९औं शताब्दीको सुरुआतसँगै त्यही जर्मनीमा एडोल्फ हिटलरको बलसामु बुद्धिहरू हार्न बाध्य भए । अन्ततः बुद्धिको हारले ठूलो मूल्य चुकाउनुपर्‍यो, त्यो संसारले– दोस्रो विश्वयुद्ध ! शक्तिको शक्तिले जन्माएको एक शक्तिशाली पात्र हुन् हिटलर । तर क्षणिक हुन्छ शक्तिको शक्ति । जसरी उदाए उसैगरी अस्ताए– उनै हिटलर ।
शक्तिको ‘शक्ति’ अनौठो हुन्छ, त्यही शक्तिले मान्छेको मन अनुहारमा उतारिदिन्छ । त्यसपछि त्यो मान्छे हेरिनसक्नु हुन्छ । शक्तिले मान्छेका भित्री मनको तहमा जमेका ती तमाम काला, मैला, धमिला र फोहोरी इच्छालाई तीव्र चाहनामा बदलिदिन्छ । सत्ता र शासकको नग्न स्वरूप त्यही शक्तिले देखाउँछ । नेपालको वर्तमान राजनीतिको निर्मम ‘सिनारियो’ सबैसामु छ । शक्तिभित्रको अनौठो शक्तिको मूल्य नेपालजस्ता निर्धन मुलुकले सबैभन्दा बढी चुकाइरहेको छन् । बुद्धिपाखर गर्ने बुद्धि नभएको भए धनानन्दजस्तै पृथ्वीनारायण शाहले पनि बिसे नगर्चीलाई लत्याएर हिँड्थे । ‘दमाई’ ले अपमान गरेको सम्झेर गर्धन छिनाउन पनि सक्थे ! मेरो सामान्य बुद्धिका दृष्टिमा बिसे नगर्ची ‘दमाई’ मात्र हैन पृथ्वीनारायण शाहका लागि चाणक्य हुन् । तिनै बिसे नगर्चीको बुद्धिको धारले साधिएको पृथ्वीनारायण शाहको तरबारले नेपालको मानचित्र कोरिएको कुरा कुनै ‘फेन्ट्यासी फिक्सन’ हैन । नगर्चीको बुद्धिलाई तिरस्कार गरेको भए चन्द्रगुप्त मौर्यको जस्तो पृथ्वीनारायणको सौर्यको ताप अहिले नेपालीले ताप्न पाउने थिएनन् । आफ्नै नाप–नक्सा पनि हुने थिएन ।
बुद्धिको सामाजशास्त्रीय सम्बन्ध नीति, न्याय, मूल्य, मान्यता, धारणा, कर्तव्य, स्वभाव, सदाचरण, सभ्यता, संस्कृति र जीवन पद्धतिसँग छ । व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा बुद्धिले नेतृत्व गरेको हुनुपर्छ । तर सामाजिक र राष्ट्रिय सत्तामा बुद्धिको नेतृत्व छैन । राष्ट्रिय रोग बनेको छ– बुद्धि विस्खलन । विस्खलनको विकिरणले हाम्रो सामाजिक चरित्रलाई विकृत बनाएको छ ।
ली क्वान युको समय र इतिहास टाढा छैन । इतिहास र भूगोलको अर्कोपाट हेर्नै पर्दैन हाम्रै पुस्ताले देखेको छ– ‘युइरा’ लाई । राष्ट्रिय–अन्तर्राष्ट्रिय अपराधको संरक्षक बनेर संहारको किनारामा उभिएको सिंगापुरलाई संसारको स्वर्ग बनायो युको बुद्धिले । तेस्रो दुनियाँको पहिलो दर्जाको स्वर्ग मानियो सिंगापुर । पचास वर्षमा पचास गुणा प्रतिव्यक्ति आय बढाउने मुलुक भयो सिंगापुर । भुगोल र सिमानामा मात्र देश बाँचेर हुँदैन– देश बाँच्न समृद्धि चाहिन्छ । उत्तर कोरिया अझै भोकसँग लड्दै छ । भोको उत्तर कोरियालाई पाल्न सक्ने हैसियत दक्षिण कोरियासँग छ । पार्क चुङ हीको बुद्धिले दक्षिण कोरियाले त्यो हैसियतमा पुर्‍यायो । आफ्नो देश चरम गरिबी र भोकमरीसँग लडिरहँदा नेपाललाई स्वर्ग देख्थे दक्षिण कोरियालीहरू । धेरै टाढा हैन, ५० वर्ष अघिसम्म भोकको भुमरीमा हराएका दक्षिण कोरियालीहरू नेपाल आउन चाहन्थे । अहिले नेपालको बुद्धि कोरियाका फलाम कारखानामा रातदिन घोटिँदै छ । बुद्धि घोट्नेको लर्को लामो छ, बढ्दो छ ।
पृथ्वीनारायण शाहपछि राजा महेन्द्रलाई एउटा आँखाले पनि हेर्न नचाहने आँखालाई बुद्धि–विरूपताको बलियो विम्ब मान्दा हुन्छ । लेखकले सधैं निजी आँखा र ‘क्रिस्टल क्लियर’ चस्माले हेर्नुपर्छ । बीपी कोइरालाको बुद्धिलाई नकार्न सकिँदैन । राजा महेन्द्रले नकार्नु एउटा दुर्भाग्यपूर्ण घटना थियो । महेद्रसँग बुद्धिभन्दा बल बढी थियो, घटनाले पुष्टि गरेको छ । महेन्द्रको ‘बल–बुद्धि’ लाई आकलन गर्न नसक्नुले बीपी कोइरालाको बुद्धिकौशलतामा प्रश्नचिह्न लगाएको छ तर कसैले आँट गरेको छैन । महेन्द्र र बीपी– बल र बुद्धि ! मिलाप भएको भए आजको यो दुःखी नेपाल सायद नेपालीले देख्नुपर्ने थिएन होला ।
बुद्धिप्रतिको विकर्षण र विनाशको क्रम २०४६ सालपछि झन् बढ्यो । कृष्णप्रसाद भट्टराई विद्धिविनोदी थिए– अपवाद थिए । बाँकी बुद्धिइतर सत्ताले समाजलाई बुद्धिभन्दा बलको पछाडि दौडन बाध्य बनायो । माकुराले माउ खाएजस्तै बीपी कोइरालाको बुद्धिलाई आफ्नैले खाए । माओ र मार्क्सका बुद्धिका सबैभन्दा धेरै चिहान नेपालमै खनिए । चिहानमाथि सत्ताको रातो कार्पेट पटकपटक ओछ्याइयो । जामा मार्क्स र माओको ओढिन्छ, टाउकामा उग्र सामान्तवादी टोपी र खुट्टामा महान् पुँजीवादी जुत्ता लगाएर रातो कार्पेट मैल्याइन्छ । नवसर्वहारा शासकीय शैलीको गुरु बनेको छ– नेपाल ।
पूर्वीय दर्शन ज्ञानमीमांसाले देखाएको बाटो हो– बुद्धिवाद । व्याख्या र उपयोग पश्चिमाहरूले गरे । हामी बुद्धि विस्खलनको पाषाणयुगमा फर्किंदै छौं । बुद्धिको समाजशास्त्रीय अध्ययनमा एउटा लेखक, विचारक, डाक्टर, इन्जिनियर वा मनोवैज्ञानिकको भन्दा एउटा नेताको प्रभाव प्रचुर देखिन्छ । बुद्धिले विचार, तर्क, निर्णय र आत्मालोचनाको भार बराबर बहन गरेको हुन्छ । सन्तुलन नभए बुद्धिले बाटो फेर्दै मूढ, जड र कुबुद्धिको बाटो लिन्छ । मन्द बुद्धिमा तर्क, निर्णय र आत्मलोचन लगभग शून्य हुन्छ । सत्तामा पुग्नु नै बुद्धिमान हुनु हो भन्ने मूढ, जड र कुबुद्धिका कारण नेपालको ‘सत्ता–नेतृत्व’ बुद्धिवञ्चित छ, प्रायः । बुद्धिवञ्चित सत्ताले प्रायः सधैं बुद्धिको विकल्प खोज्छ । सत्ताको चरित्रले बललाई बुद्धिको उत्तम विकल्प ठान्छ तर बुद्धिको विकल्प बल हैन, बुद्धि नै हो । शास्त्रीय सत्यले भन्छ– बुद्धिर्यस्य वलंतस्य ! अर्थात् जोसँग बुद्धि छ त्यही बलवान छ ! त्यसैले बुद्धिको प्रयोगका लागि बुद्धि नै चाहिन्छ । बलले बुद्धिको प्रयोग गर्ने प्राकृतिक हैसियत कहिल्यै राख्दैन ।
बुद्धिको स्रोत पूर्व नै हो । पश्चिमले प्राचीन पूर्वको त्यही बुद्धिलाई पाखर गर्‍यो, शोध गर्‍यो, खोज खोर्‍यो । त्यही बुद्धिबाट ज्ञान पर्गेल्यो, विज्ञान जन्मायो– आविष्कारमा लगायो । आफ्नो संसार सुखी बनायो– हामी रुँदै छौं । नेपालमा अझै चाणक्यहरू बाँचेका छन् तर शासकहरू कैकाला भइदिँदा डा. गोविन्द केसीहरूको उपवासको साधनाले साधिएको सात्त्विक बुद्धि मूल्यहीन हुन्छ । तिनै शासक धनानन्द भैदिँदा सय–पचास दान मागेर बुद्धि–बर्कत गरिरहेका महावीर पुनहरूको रोदन जल्लादसामु बोकाको आँसु हुन्छ ।
बुद्धि राष्ट्रको प्राण हो । अहिले बुद्धिको युग हो । तर बुद्धि विस्खलनको युग पनि अहिले नै हो– नेपालजस्ता देशका लागि । वीर्यको असन्तुलित र पतनको तीव्र गतिलाई स्खलनको संज्ञा दिइन्छ । अहिले मानिसको वीर्य स्खलनभन्दा बुद्धिपतनको गति तीव्र छ । बुद्धि पतनको यो तीव्र गतिलाई ‘विस्खलन’ को संज्ञा दिइन्छ ।
twitter: @Shivaprakash_NP

कोसेली

धेरै अनुवादक चाहिएको छ

- कान्तिपुर संवाददाता

कन्नड लेखक विवेक सानभागको उपन्यास ॅघाचर घोचर’ अनुवाद गरेका युग पाठकसँग छोटो संवादः

आख्यान, गैरआख्यान र पत्रकारिताको संसारबाट अनुवादतिर कसरी आकर्षित हुनुभयो ?
सफु प्रकाशनका मित्रहरू प्रणवमान सिंह र प्रवीण अधिकारीले मलाई तानेर छिराउनुभएको हो । खगेन्द्र संग्रौला दाइसँग संगत गरिरहँदा असल किताब अनुवाद गर्नुपर्छ भन्ने छलफल त चलिरहन्थ्यो । महेशचन्द्र रेग्मीको ‘थ्याच्ड हट्स एन्ड स्टुको प्यालेस’ पनि अनुवाद गर्न मन लागेको हो कुनै बेला । अरू असल किताब पढिरहँदा पनि अनुवाद गरूँगरूँचाहिँ हुने ।


आफैंले पालेर राखेका भ्रमहरू किताब पढ्दा हटेको, आफैं छक्क परेको अनुभूति हुँदा त्यस्ता किताब अनुवाद गरेर अरूलाई पनि पढ्न मौका दिन पाए हुन्थ्योजस्तो लागिरहने । डा. देवेन्द्रराज पाण्डेका किताब पनि अनुवाद गर्न पाए हुन्थ्योजस्तो अहिले पनि लाग्छ । हामी यस्ता किन भयौं ? हाम्रो देश यस्तो किन भयो ? आदि प्रश्नको सामना गर्ने क्रममा ‘माङ्गेना’ किताब लेखियो । तर, त्यै किताब लेखिरहँदा आफूले अध्ययन गरेका कैयौं किताब अनुवाद गर्न मन लागेको हो । भारतीय इतिहासकार रोमिला थापरका पुस्तक पनि अनुवाद गर्न पाए हुन्थ्योजस्तो लागिरहन्छ ।
अनुवाद बृहत्तर काम हो, धेरै अनुवादक चाहिएको छ हामीलाई । मचाहिँ रहर हुँदाहुँदै ढिलो गरी प्रवेश गरेको छु अनुवादमा । सकेको गर्ने हो अझै ।

ॅघाचर घोचर’ को अनुवाद गर्ने विचार कसरी आयो ?
प्रणवजी र प्रवीणजीले नै मलाई ‘घाचर घोचर’ अनुवाद गर्ने प्रस्ताव गर्नुभयो । मेरो हात परेको पुस्तक आफैंमा मूल कन्नड भाषाबाट अंग्रेजीमा उल्था भैसकेको थियो । अनुवादबाट अनुवाद गर्नुपर्ने बाध्यता थियो । यो उपन्यास मैले पढेकै पनि थिइनँ । पढिसकेपछि म उल्था गर्न सहमत भएँ । यति सानो आयतनभित्र दक्षिण एसियाकै जीवनको एउटा आयाम गजबले उजागर भएको पाएँ । हाम्रै घरसमाजमा देखी जानेको सुनी जानेको कहानी जस्तो लाग्ने ।
बडो सजिव र इमानदार चित्रण । अनि उल्था नगरेर भयो ?

यो पुस्तकको विशेषता के छ ?
कलाका विशेषता हेर्ने अनेक दृष्टिकोण छन् । मचाहिँ एउटा सीधा र सरल उपाय सिफारिस गर्छु । चेतनाको सम्पर्कमा आइसकेपछि त्यो कलाले झल्याँस्स पारेर केही न केही नयाँ अनुभव र अनुभूति दिन सक्यो भने त्यो सफल भयो । कला भनेकै जीवनका विभिन्न आयामहरू बुझ्ने र बदल्ने कामका लागि रचना गरिन्छ ।
‘घाचर घोचर’ ले मलाई आफ्नै वरपर घटित भैरहेको पारिवारिक र सामाजिक जीवन यसरी अनुभूत गराइदियो कि म झल्याँस्स भएँ । हत्तेरी, हो त नि ! भन्याजस्तो । त्यहाँका पात्रहरूको मनमा, जीवनमा बल्झिरहेको गाँठो झनझन् फुकाउन नसक्नेगरी जेलिँदै गैरहेको छ । हामी पनि जीवनमा यस्ता कति गाँठा लिएर बाँच्छौं । ती गाँठा फुकाएर जीवनलाई सरल र मीठो बनाउने कला र चेतना हामीसँग छैन । हठचाहिँ यस्तो छ कि हामी झन्झन् ती गाँठाहरू कस्दै पो जान्छौं ।
हुन त जीवनमा यस्ता उतारचढाव चलिरहन्छन् । तैपनि कैयौं प्रसंगमा हामी आफैंले बाँचिरहेको जीवनका गाँठा नबुझेर त्यसैमा जेलिइरहेका हुन्छौं । हाम्रो साहित्य, राजनीति वा दैनिक जीवनमा एउटा चेतना बडो जबर्जस्त छ । हिरोको खोज गरिरहने । आमा वा बुबा पात्र बनायो भने उपन्यासकार त्यो पात्रलाई पूरै आदर्श बनाउन लागिपर्छ । अनि यस्तो लाग्छ कि उपन्यासमा हुने आमा र हाम्रो जीवनमा हुने आमा उस्तै हुनै सक्दैनन् । चलचित्र वा उपन्यासमा हुने बाबु सदैव एकै टाइपको हुन्छ ः जन्म दिने महान् कर्म गरेको, वात्सल्य प्रेम पगालेर बगाएर कहिले नथाकेको, सधैं ज्ञानगुनका कुरामा छोराछोरी पुस्ताभन्दा जान्ने, अलौकिक खालको । अनि म आफैंलाई हेर्छु, म पनि त बाबु हुँ । तर मेरा सीमाहरू कति छन् कति । ‘घाचर घोचर’ ले जीवनमा जस्ता आमा, बाबु, दिदी, काका हुन्छन् त्यस्तै चित्रण गरिदिँदा म झसँग भएँ ।
उपन्यास, सिनेमा, राजनीति, जीवनका अन्तर्क्रियाले यथार्थसँग भेट गराउँदै बदल्न मद्दत गर्नुपर्नेमा हामीलाई झनै यथार्थबाट टाढा पुर्‍याइरहेको त छैन ? नक्कली अनुभव र अनुभूतिले ग्रस्त हुनु पनि जीवनबाट भाग्नु, यथार्थबाट च्युत हुनु र हावामा सबै समस्याको समाधान खोज्ने महामारी चेतनाबाट ग्रसित हुनु हो । यही नक्कलीपनबाट बाहिर निस्कन यो उपन्यासले मद्दत गर्छ ।

अनुवाद कर्म कस्तो लाग्यो ? अनुवादलाई मौलिक किताब लेखेजत्तिकै गाह्रो तर जस नपाइने विधा भनिन्छ, तपाईंको अनुभव कस्तो रह्यो ?
अनुवादका दुईवटा पाटा हुने रहेछन् । पहिलो, कुनै लेखकले कुनै खास भाषामा लेखेको पुस्तकलाई अर्को लेखकले अर्को भाषाको दुनियाँमा लैजानुपर्‍यो । दोस्रो, फरक भाषाका फरक ज्ञान, संवेदना, संस्कृति, चिन्तन, परम्परा हुने हुनाले सामान्य उल्था गरेर काम चलाउँला भनेर नसोचे हुन्छ । फरक संस्कृति र भाषाका मान्छे हाँस्ने, रुने, प्रेम व्यक्त गर्ने, घृणा गर्ने तरिका, विचार, शैली सबै फरक हुन्छन् । एउटा संस्कृतिका मान्छे छोरीले ब्वाइफ्रेन्ड रोजेर हिँड्दा खुसी हुन्छन्, अर्को संस्कृतिका मान्छे छाति पिटेर विलौना गर्छन् । त्यसैले एउटा भाषामा व्यक्त भएको प्रेम अर्को भाषामा उसैगरी व्यक्त हुनै सक्दैन ।
अनुवादकले भाषा जानेर मात्र नपुग्ने कुरा यहीँनेर आउँछ । ‘घाचर घोचर’ त झन् कन्नड भाषामा लेखिएको उपन्यास पर्‍यो । कन्नडबाट उल्था भएर अंग्रेजीमा पुगेको चीजलाई तेस्रो भाषामा उल्था गर्ने जिम्मेवारी उठाउनु सजिलो पक्कै हुँदैन । उदाहरणका लागि, उपन्यासमा ‘अवरेकाडु उपमा’ भन्ने परिकारको प्रसंग आउँछ । अंग्रेजी हिज्जे पढ्दा अवरेकालुजस्तो लाग्छ, वास्तवमा अवरेकाडु हुनेरहेछ । यो र यस्ता प्रसंगमा अनुवादक सचेत र अध्ययनशील भैरहन आवश्यक पर्छ ।
तपाईंले भनेको ठीक हो । अनुवाद मौलिक किताब लेखेसरहेकै रचनात्मक काम हो । स्रोत भाषामा जे जस्तो जसरी लेखिएको छ, त्यसको मर्म कायम हुनेगरी लक्षित भाषामा रचनात्मक हुनैपर्छ । नत्र अनुवाद रहेछ भन्ने अनुभूतिले पाठकलाई हरेक पृष्ठमा चिमोट्छ । अनुवादमा जहिल्यै मूल किताबको धेरै कुरा हराउँछ भनिन्छ । त्यो किन हुन्छ भने उल्था भैरहेको भाषाका विशेषता नै भिन्नै हुन्छन् । नेपाली भाषामा उल्था भैरहेको छ भने नेपाली भाषाकै उपन्यास पढिरहेको अनुभूति हुनु जरुरी छ । त्यसैले अनुवादकलाई नयाँ उपन्यास लेखिरहेझैं अनुभूति वाक्य वाक्यमा हुने रहेछ ।
जस–अपजसको कुरा जहाँसम्म छ, मेरो विचारमा साधनाबाट जन्मेको कला रहेछ भने त्यसले पाठकको मनमा ठाउँ बनाइहाल्छ । साधनासँग अचम्मको गुरुत्वाकर्षण हुन्छ । बाँकी जस–अपजसको खेल त चलि नै रहन्छ । अनेक दृष्टिकोणबाट अनेक तर्क उब्जिने नै भए ।

अन्य भाषाका किताब नेपालीमा अनुवाद गर्ने कि नेपालीमा लेखिएकालाई विदेशी भाषामा पुर्‍याउन बल गर्ने ?
दुवै काम उत्तिकै जरुरी छ । यो संसारका अनुभूति र अनुभवहरू साटासाट गरेर मान्छेले आफ्ना गाँठा फुकाउँदै जाने, जीवनलाई सुन्दर र साझा तुल्याउँदै जाने प्रक्रिया हो । म त भन्छु, नेपालकै विभिन्न नेपाली भाषा (नेपालभाषा, मैथिली, तामाङ, लिम्बू आदि) मा लेखिएका किताबहरू पनि एकआपसमा अनुवाद हुनु जरुरी छ । जनसंख्या गनेर मात्र देशको गणना पूरा हुँदैन । हामी एउटै राजनीतिक सीमाभित्र बस्छौं तर यतिधेरै विविध अनुभूति, अनुभव, चिन्तन साटासाट गरेर समृद्ध हुनै पाएका छैनौं ।

तपाईंले पढेका सुन्दर अनुवाद र अनुवादक को–को हुन् ?
राजेन्द्र मास्केले रसियन भाषाबाट उल्था गरेका ‘आमा’ उपन्यासलगायतका थुप्रै किताब किशोर उमेरमा मलाई प्रभावित पार्ने किताब थिए । त्यसैगरी खगेन्द्र संग्रौलाका वैचारिक, साहित्यिक अनुवादले ठूलो प्रभाव पारे । ‘अजम्मरी गाउँ’ उपन्यास त मैले कतिपटक दोहोर्‍याएर पढेँ पढेँ । पछि मात्र थाहा भयो, त्यो खगेन्द्र दाइको अनुवाद रहेछ । माओका दर्शनसम्बन्धी निबन्ध पढेर एक समय मेरो चिन्तन पद्धति नै फेरिएको थियो । यो पनि खगेन्द्र दाइकै अनुवाद हो ।

 

Page 20
कोसेली

स्वर्णिम अनुभवकुञ्ज

 

हामीकहाँ धार्मिक र पर्यटन महत्त्वले भरिपूर्ण कैयौं गन्तव्य छन्, जहाँ सरकारको नजर तानिएको छैन । नागरिकस्तरबाट भने तीनको जगेर्ना र प्रचारमा पर्याप्त प्रयास भइरहेको छ । बर्सेनि हजारौं यात्रु त्यस्ता ठाउँमा पुग्ने गर्छन् । त्यस्तैमध्ये एक हो— बाजुराको प्रसिद्ध बडिमालिका । यससँग जोडिएका अनेकौं रोचक जनविश्वास छन्, अनि त्यत्तिकै स्वर्णिम अनुभव हुन्छ, जब बडिमालिका पुगिन्छ ।
प्रत्येक वर्ष जनै पूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्छ । पूजा हुन्छ । बडीमालिका माईको पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ । मन्दिर पुग्न बाजुरा सदरमुकाम मार्तडीबाट ३ दिन लगातार हिँड्नुपर्छ । बीचमा खानेकुरा केही पाइँदैन, होटलहरू पनि छैनन् । ड्राई फुड्स लगेन भने आपत् पर्छ । ३३ सय मिटर माथि पुगेपछि पाटन भन्ने ठाउँ पुगिन्छ । भदौ–असोजमा रंगीविरगी फूल ढकमक्कै हुन्छन् । यहाँ अपरिचित यात्रुले कानमा फूल सिउरेर स्वागत गरिँदोरहेछ, बेग्लै आत्मीयता आभास हुन्छ । भेठीगोठ देख्न पाइन्छ । च्यांग्राको दूधको चिया खान पाइन्छ । त्यसपछि आउँछ, त्रिवेणी खोला । यहाँ नुहाएपछि जीवनभरको पाप पखालिने विश्वास छ । त्यहाँबाट सात घण्टा हिँडेपछि वर माग्ने भगवान् भेटिन्छ दायाँबायाँ चिप्लो, असाध्यै गाह्रो बाटो । त्यहाँबाट पनि चार घण्टा हिँडेपछि बल्ल बडीमालिकाको दर्शन पाइन्छ । त्यसपछि यात्राको सारा कष्ट भुलिन्छ । यहाँबाट सैपाल हिमाल पनि देखिन्छ । बाटोमा भाकल पूरा गर्न आएका तीर्थालु टन्नै भेटिँदोरहेछ ।
एकातिर बडीमालिका पुग्न ट्रेक रुट पनि छैन, अर्कातिर बाटोमा खाने–बस्ने प्रबन्ध हुन्न । प्राकृतिक र ऐतिहासिक दृष्टिले यति महत्त्व राख्ने मन्दिर र यस भेगलाई ‘हब’ बनाउन राज्य संवेदनशील हुनु आवश्यक छ । जनै पूर्णिमामात्र हैन, सदावहार यात्रुलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ । यस क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर संरक्षण गर्नुपर्ने माग बाजुरावासीको छ ।

कुवेर डंगोल

कोसेली

बोल्न किन डरायौ आमा ?

खै त तिम्रा कथामा कतै सुखका कुरा भेट्दिनँ ! के तिमी कहिले खुसी हुनै पाइनौ त ?
तिम्रो कथा सुन्दा लाग्छ संघर्षमै बित्यो तिम्रो जिन्दगी ।

हाम्रो पालामा हामी एक छिन खाली बस्दैन थियौँ । अहिलेका केटीहरू पटक्कै काम गर्न नसक्ने । स्वाङ पारेको हो कि के हो ? हामी त एकाबिहानै घरका अरू उठ्नुभन्दा अघि नै उठेर आधा काम सकिसक्थ्यौँ । घाँस लिन कति परपरसम्म जानुपर्थ्यो । अरू त के कुरा घाँस काटेर फर्कंदा बच्चा जन्माएर आफैँले सालनाल काटेर घाँसको भारीसँगै बोकेर फर्कन्थ्यौँ । राति सुत्नुअगाडि घरका सबैको गोडामा तेल लगाइदिएर अनि मात्र हामी सुत्थ्यौँ । न कसैले हामी सुतेको देख्थे न उठेको । हामीले त कति गरेर घरजम चलायौँ । कहिलेकाहीँ त बच्चालाई बिहानै झोलुंगोमा सुताएर गयो आउँदा साँझै पर्थ्यो । बिचरा आची, सु गरेर त्यसमै डुबेर बसेको हुन्थ्यो ।

बच्चाले पनि भोक लाग्नेबित्तिकै कहाँ खान पाउँथ्यो र । अरू कुरा त परै जाओस् कहिलेकाहीँ त जंगलमा घाँस काट्न जाँदा बाघकै सामना गर्नुपर्ने । जाबा सर्प त कति मारियो मारियो । यत्तिकै आजका दिनसम्म आइपुगेका कहाँ हौँ र ! अचम्म लाग्छ आजकालका भुराभुरी देख्दा, एउटा काम गर्‍यो अर्को गर्न सक्दैनन् । हिम्मत नभएकाहरू । घरको सारा काम एकै जनाले गरिन्थ्यो । चुइँक्कसम्म गरिएन । त्यसै त कहाँ चल्छ र घरगृहस्थी !’


यी भनाइ मेरा हैनन्, मेरी आमा र मेरी आमाजस्तै अरू थुप्रै आमाका हुन् । कतिलाई यी कुरा किंवदन्तीजस्ता लाग्लान्, कतिलाई २० वर्षअगाडिका थोत्रा कुराजस्ता लाग्लान् । तर, हैन आज पनि थुप्रै आमा, दिदीबहिनी र छोरीहहरूको जिन्दगी यसरी नै चलिरहेको छ, चुँइक्क नबोलेर । आमाका कथा सुनिरहँदा मनमा अनेक प्रश्न उब्जन्छन् । यी कथाहरू सुनाउने मेरी आमाको कथामा म बहादुरी कतै भेट्दिनँ बरु म त लाचारी पाउँछु । किन गरेको त्यति धेरै काम आमा ? किन एक शब्द नबोलेको ? रहरले कि करले कि डरले ? डर र करले हो भने किन सुनाउँछ्यौ बहादुरी गरे जसरी र यदि रहरले हो भने हामी पनि त आफ्नै रहरमा चल्न पाउनुपर्‍यो नि ! किन अचेलका केटीहरू यस्ती र उस्ती भन्छ्यौ ? मलाई पटक्कै तिमीले गरेका कामहरू रहरले गरेकी हौलीजस्तो लाग्दैन । तिमीले तिम्रो कहानी सुनाउँदा नै मलाई कहाली लाग्छ, अझै पनि तिमीजस्ता धेरै छन् भन्दा त झन् वैराग्य लाग्छ आमा । अझै त्योभन्दा धेरै नरमाइलो त मलाई आफैँले त्यति दुःख सहेर, देखेर, भोगेर आएर पनि मैलेजस्तो दुःख कसैले गर्न नपरोस् भनेर तिमीले भन्न नसकेको देखेर लाग्छ । तिमी त भाग्यले बाँचिछ्यौ आमा भयानक दुःखका कथा सुनाउन पायौ । सम्झ त तिम्रा साथीसंगी, छोरीहरू कतिले अकालमै ज्यान गुमाए र अझै पनि गुमाइरहेका छन् । तिनले त आफ्नो कथा सुनाउन नि पाएनन् । तिमीलाई त थाहा छ नि आमा, किन भन्दिनौ तिनका कथा, मृत्युको कारण र आफ्ना कमजोरीहरू ।


भोग्नेलाई देख्ने र सुन्नेलाई भन्दा धेरै थाहा हुन्छ । तिमीलाई थाहा छ महिलाका पीर, व्यथा र अप्ठ्याराहरू । किन भन्दिनौ ? म त धन्न बाँचें अरूलाई त्यस्तो नपरोस् भनेर । किन भन्दिनौ मेरा छोरी बुहारीहरूलाई दुःख नपरोस् भनेर । तिमी मात्र बाँचेर भयो त आमा ? तिमीजस्ता कति आमाहरू गर्भवती हुँदा राम्रो स्याहार नपाएर मरे, कति सुत्केरी व्यथा लागेर मरे, कतिका बच्चा गर्भमै मरे, कति छाउपडीजस्तो कुप्रथाका कारण समाजको मूर्खता र असुरक्षाका कारण मरे । तिमीले त सब देखेकी छ्यौ, देखेकी मात्र हैन, भोगेकी पनि छ्यौ । तिमीलाई त थाहा छ नि सारा कुरा ! महिनावारी हुँदाको पीडा, गर्भवती हुँदाको पीडा, आफ्नो बच्चालाई समयमा ख्वाउन नपाउनुको पीडा, समयमा खान नपाउनुको पीडा, आफ्ना बच्चा कुपोषणको सिकार हुनुपरेको पीडा ! वषैँपिच्छे सन्तान जन्माउनुको पीडा । अनि त्यति दुःख गरेर जन्माएको बच्चा पनि अल्पायुमै संसारबाट बिदा भएको कुरा ।


खै त तिम्रा कथामा कतै सुखका कुरा भेट्दिनँ ! के तिमी कहिले खुसी हुनै पाइनौ त ? तिम्रो कथा सुन्दा लाग्छ संघर्षमै बित्यो तिम्रो जिन्दगी । अचेलका केटीलाई एउटा बच्चा हुर्काउन नि धौधौ भनेर अरूले भने पनि तिमीले भन्न सुहाउँछजस्तो लाग्दैन मलाई । तिमीले नै हामीले त कति गथ्यौँ अहिलेकालाई आराम चाहिने भनेर भन्दा अचम्म लाग्छ आमा । बुहारी माइत जान खोज्दा ससुरा र श्रीमान्भन्दा अगाडि सासू गमक्क परेको देख्दा अचम्म लाग्छ । आमाले छोरीलाई घरकाले गलतै गरे पनि ठूलो स्वर नगर्नु भनेको सुन्दा अचम्म लाग्छ । महिलाको कुरा महिलाले पहिला बुझ्नुपर्छ । तिमीले नबुझे अरूको त के आस गर्नु र खै । तिमीले त मेरो कुरा बुझिदिने कोही थिएन तिम्रो कुरा म बुझ्छु भन्नुपर्ने हैन र हामीलाई । उल्टै तिमी पो हाम्रा पालामा भन्दै वीरताको कथा सुनाए जसरी आफ्नै लाचारी प्रस्तुत गर्छ्यौ ।


तिमीले भन्दासम्म त भोगेकै कुरा सुनायौ, जे जानेको त्यही भन्यौ भनेर चित्त बुझाउन सक्छु । किनभने मान्छेले आफ्नो सोचअनुसार बोल्ने न हो तर तिम्रै पछिपछि लागेर तिम्रै कुरालाई आधार बनाएर महिलाका पीडा अनुभव पनि गर्न नसक्ने पुरुषले हाम्री आमाले ७/८ जना बच्चा जन्माएर घरको काम सबै हेर्नुहुन्थ्यो, तिमीहरूलाई केको गाह्रो भन्दै आफ्नी श्रीमतीलाई भनेको सुन्दा सहनै गाह्रो हुन्छ । कहाँबाट आयो आमा पुरुषमा यति हिम्मत ? के तिमीले सजिलै गरेकी थियौ र ? पक्कै थिइनौ । थिइनौ भने भन न आमा यस्तो बेला गाह्रो हुन्छ, माया चाहिन्छ, आराम चाहिन्छ । मैले त पाइन यिनीहरूले पाउनुपर्छ भनेर । किन भन्दिनौ आमा ? किन हामीले कति गर्‍यौं अहिलेका नसक्ने भन्छ्यौ ? हामी नसक्ने हैनौँ आमा, हामी गर्दैनौँ तिमीले गरेका जस्ता दुःख किनकि हामीलाई थाहा छ स्वस्थ शरीरको महत्त्व र तिमीले जस्तै दुःख गर्दा आइपर्ने भयावह परिणाम ।


तिमीले बताएका बहादुरीका कथाको अर्को पाटो हामीलाई राम्रोसँग थाहा छ । हामीलाई धेरै कथा थाहा छ— कुसंस्कृति र कुप्रथाका कारण सहिद भएकाहरूको जो आफ्नौ ज्यानै जाने बेलासम्म पनि चुइँक्क एक शब्द बोलेनन् । समाजले संस्कारी भनेर कमजोरीको तारिफ गरिदियो तिमी मख्ख पर्‍यौ । के दोष थियो र महिनावारीको कारण छुट्टै राखिएका कारण मर्नेहरूको ? महिनावारीले कसको के बिगारिदिन्छ र छुँदै नछोएर ज्यानै जाने गरी पर राख्नुपर्ने ? गल्ती तिम्रो हो आमा जे सिकाए खुरुक्क पत्यायौ, तिमीले आवाज उठाइदिएको भए के थाहा धेरैको ज्यान बच्थ्यो कि ? तिमीले एक शब्द प्रतिकार नगरेर हाँसीहाँसी सारा काम गरिदिएर त होला उनीहरूलाई सहज लागेको । सोचे होलान्— महिनाबारी हुँदा, गर्भवती हुँदा केही अप्ठ्यारो हुँदैन, किनकि तिमीले आपत्ति कहिले जनाइनौ । किन बोलिनौ आमा, रहरले कि करले कि डरले ? तिमी त अझै पनि बोल्दिनौं । के तिमीलाई तिमीले बाँचेकै जीवन सुन्दर लागेको थियो ?


गर्भवती भएको बेला गरिएका काम, सुत्केरीमा नगरिएको स्याहार र जीउले थेग्नै नसक्ने कामका कारण कतिको पाठेघर खस्यो, कति महिला प्रसव पीडा सहन नसकेर मृत्युको मुखसम्म पुगे, कति महिला पाठेघर कुहिएर गनाउँदासम्म कसैलाई बताउन नसकेर चुपचाप बसे, कति बच्चा कुपोषणका सिकार बने, कति मरे यी कुराहरू पो बताउनुपर्छ । किन बताउँदिनौ यी कुराहरू ? बताए पो थाहा हुन्छ आमा । तिम्रा कथा सुन्दा लाग्छ तिमी त भाग्य बलियो भएका कारण मात्र बाँचेकी रहिछौ । तिमी मात्र हैन तिमीजस्ता थुप्रै महिला अझै पनि भाग्यकै भरमा जिन्दगी दाउमा लगाएर हिँडिरहेका छन् ।


दुःख त तिमीले धेरै गर्‍यौ, गरिनौ त म भन्नै सक्दिनँ तर बिन्ती आफ्ना दुःखका र लाचारीका कथालाई वीरताको कथा जसरी नसुनाऊ । हाम्रो पालामा हामी यस्ता थियौँ, यति गर्थ्यौं अहिलेकाहरू केही गर्दैनन् नभन । हामी हाम्रा काम र कर्तव्य देखेर काँप्दा पनि काँप्दैनौं र डराउँदा पनि डराउँदैनौं तर तिम्रा कथा सुनेर चाहिँ तर्सन्छौं । घरीघरी मनमा एउटै प्रश्न आउँछ— आफ्नो वास्तै नगरी किन गरेको, करले कि रहरले कि डरले ? आफू नै नरहे के अर्थ भयो ? आफू पनि स्वस्थ भएर अरूलाई स्वस्थ रहन सिकाउन पाए पो राम्रो ! समपर्णमै मात्र जिन्दगी बिताउनु पनि त राम्रो कुरा होइन । पक्कै पनि तिमीलाई लाग्यो होला घर संस्कार, संस्कृतिलाई जोगाउनुपर्छ । त्यसैले नारीले पीडामा पनि मुस्कुराउनुपर्छ, सक्दासम्म गर्नुपर्छ । तिमी कर्तव्यनिष्ठ भयौ होला तर के तिम्रो कर्तव्य त्यति मात्र थियो त । मैले भोगेको दुःख मेरा छोरी बुहारीले भोग्नु नपरोस् भनेर आवाज किन नउठाएको आमा ? तिम्रो सबैभन्दा महत्त्वपूर्ण कर्तव्य त त्यो थियो नि । किन नबोलेको डरले कि रहरले ?


तिमी डरायौ होली केही बोले संस्कृतिविरोधी, समाजविरोधी भन्लान् कि भनेर । डरायौ होली घरबाट निकालिदिन्छन् कि भनेर ! तिमी पक्कै पनि डरायौ आमा त्यसैले त केही बोलिनौ तर अब त सुनाऊ तिम्रा जमानाका अन्यायको कुरा, असमानताको कुरा, तिमीलाई मन दुखेको कुरा, चित्त नबुझेको कुरा । हामी छौँ नि तिम्रो साथमा । तिमीजस्तै हामी पनि केही नबोलेर बस्ने हो भने भोलि हाम्रा छोरी चेली पनि यही सानातिना कुरामा अल्झिनुपर्छ । त्यसैले तिम्रो बाटौ पटक्कै पछ्याउन मन छैन । नरिसाऊ आमा । हामीलाई त अधिकार प्राप्त गरेर समाजमा सम्मानका साथ बाँच्न मन छ, दिल खोलेर हाँस्न मन छ । जिन्दगीको तिमीले नहेरेको र नदेखेको पाटो हेर्न र जान्न मन छ । घरभित्र मात्र हैन घर बाहिर पनि छुट्टै संसार छ आमा, खुला आकाशमा उड्न मन छ । कति त कुसंस्कार, कुप्रथालाई छोडेर कताकता पुगिसके तर कति अझै तिमीले बाँचेकै जीवन बाँच्दै छन् । बाँचेकै त के भन्नु खै, धेरै अझै दुःख सहँदै, पटकपटक मर्दै छन् ।


जति दुःख संकट दिए पनि तिमी चुँइक्क नबोली बस्यौ । अब नबस । घरभित्र मात्र हैन, यो कुरा संसारलाई बताउनु छ । सुन्दर संसार बनाउनु छ जहाँ संस्कार र संस्कृति जगाउने ठेक्का नारीको मात्र नहोस् र त्यही संस्कार र संस्कृतिको नाममा अन्याय
नहोस् ! हामीलाई पनि घरबाहिर जाँदा घरभित्रको तनावले नपछ्याओस्, घरभित्र बस्दा केही बन्ने प्रेरणा मिलोस् । अनि पो जिन्दगी जिन्दगीजस्तो हुन्छ ।


तिमीले भोगेका दुःख अब कथामै सीमित रहून् । कसैले त्यस्तो कथा सुनाउनै नपरोस् । कसैले पनि अरूको रहर पूरा गर्दागर्दै आफ्नो रहर मार्नु नपरोस् । संसार जित्न सक्ने नारीहरूले आफ्नै घरभित्र हार्नु नपरोस् । यति हो आमा हामीले चाहेको । गलत हो र ? चाहेर मात्रै हुँदैन चाहेको कुरा व्यक्त नगरी थाहा हुँदैन । त्यसैले बोल्न जरुरी छ । चाहे संस्कृतिविरोधी भनून्, चाहे हिम्मत नभएका भनून्, अरूले जे भनून् आमा तिमीचाहिँ केही नभन्नू । किनभने यो तिम्रो पाला हैन यो हाम्रो पाला हो । तिमीले हाम्रा लागि जस्तो संसार तयार गरिदियौ, हामी त्यही संसारमा संघर्ष गर्दै छौँ र अब आउने पुस्ताका लागि कस्तो संसार तयार पार्ने हो त्यसमा लाग्छौं ।

स्वीकृति बराल

Page 21
कोसेली

सकेका आमाहरूका कुरा

- सावित्री गौतम

 

ॅएक्लै भएको बेला रेडियो राति उतैबाट बन्द नहुनेबेलासम्म बन्द गर्दिनँ । बाहिरबाट सुन्दा यो घरमा मान्छे छन्, गफ गरिरहेका छन् भन्ने सोचुन् भनेर,’ म मेरी साहिली काकी सरिताले भनेको सम्झिन्छु । स्याङ्जाको सेतीदोभान बजारमा बस्दाताका कुनै रात काकीले यो कुरा भन्नु भएको थियो । त्यतिबेला घरमा मान्छे कुरा गरिरहेका छन् भन्ठानेर चोरडाका घरभित्र नपस्ने भनेर काकीले त्यस्तो भन्नुभएको भन्नेबाहेक अरू कुरा दिमागमा आएको थिएन ।
बाल्यकालमा रेडियो हाम्रा लागि दुर्लभ चीज थिएन । साना भए पनि ‘बजार’ भन्न मिल्ने ठाउँमा बस्थ्यौं । बजारभरि पसलैपसल थिए । साँघुरो बजारमा छेउछाउका घरबाट लगातार रेडियो बजेको सुनिन्थ्यो, बिहान ‘उतैबाट’ खुलेदेखि राति बन्द नहुन्जेलसम्म । किराना पसलेहरूले त झन बाकसका बाकस ब्याट्री बेच्थे नै । ब्याट्री सकिने डरले थोरै समयसम्म मात्रै रेडियो वा टेपरेकर्डर बजाउन पाइने भन्ने नियम सायद बजारका कुनै पनि घरमा थिएन । पछि त सेतीदोभान बजारमा त्यहींको साना जलविद्युत् आयोजनाले गर्दा एक दिन बिराएर बिजुली पनि दिने भएपछि झन् सजिलो भएको थियो । मैले यहाँ रेडियो सुनाइबारे गफ गर्न लागेको भने होइन । आन्विका गिरीको कथा शृंखला ‘आमाले सक्नुहुन्छ’ का आमा र बुबा पात्र पढिसकेपछि उस्तै लागेका आफूले देखेका मान्छेहरूको बारेमा हो ।
‘आमाले सक्नुहुन्छ’ कथा शृंखलाकी सुत्रधार तेह्र वर्षीया माधवीले किताबभर आफ्नी आमाको कथालाई विभिन्न शीर्षकमा शृंखलाबद्ध तरिकाले भन्छिन् । माधवी आफ्नी आमाजस्तै आँटिली र दृढ छन् । उनकी आमा संगिनीहरूसँग मिलेर थोरैथोरै बचत गरेको रकमले हटियामा तरकारी व्यापार गर्छिन् । हटिया जान–आउन सहज होस् भनेर साइकल किन्छिन् र रातिराति साइकल सिक्छिन् । त्यसैमा तरकारीको ढकी राखेर हटिया पुग्छिन् । मज्जाले गोरुगाडा हाँक्छिन् । तरकारी व्यापारकै कमाइले अन्ततः उनले किराना पसल खोल्छिन् । सबैले ‘मानिआएको’ पहिलोपटक महिनावारी हुँदा छोरीलाई लुकाउने कुराको उनले विरोध गर्छिन् । मैले जे भोगें त्यो मेरी छोरीले भोग्दिन (पृ. १४९)’, मानिआउने कुरा हामी आइमाईका लागि मात्रै किन हुन्छ होला ? (पृ. १५०) ।


माधवीका बुबाले आमालाई साइकल सिकाउनेदेखि आमरूपमा ‘आइमाई’ का लागि भनेर छुट्ट्याइने सम्पूर्ण काम सहजै गर्छन् । यस्तो काम गरिदिएबापत धन्यवाद दिँदै निबन्ध लेखेकी माधवीलाई उनी हस्यौली तरिकाले ‘ती धन्यवाद दिनुपर्ने कुरा नभई मेरा आफ्नै काम हुन्’ भनेर सम्झाउँछन् । घरमा कुनै पनि लैंगिक विभेद नगर्ने पिता देखेकी माधवीलाई छरछिमेकमा, काकाको परिवारमा लैंगिक विभेद देख्दा, स्कुलमा समेत पिकनिक जाँदा ‘केटा विद्यार्थी’ लाई खेल्न कुद्न दिने र ‘केटी विद्यार्थी’ लाई तरकारी काट्न मात्रै लगाएर पिकनिकको मजा लिनै नदिने शिक्षकहरू देखेर अनौठो लाग्छ ।

यो किताब विमोचनको दिन राजनीतिज्ञ सरिता गिरीले किताबकी आमा पात्रले हटियामा गरेको व्यापारलाई तराईका बजारमा महिलाले हटियामा गरेको व्यापारसँग जोड्दै गरेको टिप्पणी गरेकी थिइन्, ‘आमाले सक्नुहुन्छ कि आमा त अझै एक कदम अगाडि बढेकी छन्, हटियाको व्यापारको हिसाब क्यालकुलेटरमा गर्न सक्ने भएकी छन् । तर तराईमा अधिकांश महिलाले क्यालकुलेटरबिनै ठूल्ठूला हिसाब गरिरहेका छन् । यस्ता व्यापारमार्फत महिलाले घरेलु अर्थतन्त्रमा पुर्‍याएको योगदानको कुनै गणना गरिएको छैन ।’


एक जना पुरानो छिमेकी आन्टी हुनुहुन्छ । धेरै वर्षदेखि नारायणगढको पुल्चोकमा उहाँको फलफूल पसल छ । अंकल बितेको केही वर्ष भइसक्यो । निःसन्तान हुनुहुन्छ । गएको वैशाखमा नारायणगढ गएको बेला देखें, आन्टी आजसम्म पनि धम्मरधुस गर्दै पुरानो ढकवाला तराजु प्रयोग गर्नुहुँदो रैछ । अचम्म मानेर सोधें, ‘डिजिटल तराजु किन नराख्नुभएको ?’ आन्टीले भन्नुभो, ‘पढ्न जान्नुपर्‍यो नि छोरी ।’ तराजुमा देखिने अंग्रेजी अंक आन्टी पढ्न सक्नुहुन्न । बढी नै हिसाब गर्नुपरे क्यालकुलेटर चलाउन कसैको सहयोग लिनुहुन्छ ।


माधवीकी आमाले पनि पहिला प्रशस्तै हिसाबकिताब बिगारेकी छन् । हिसाब गर्न नजानेकै कारण व्यापारमा उनलाई ग्राहकले ठगेका छन् । आफूले पनि ग्राहकबाट बढी पैसा लिएकोमा खिन्न भएकी छन् । उनै आमा किताब सकिने बेलासम्म त क्यालकुलेटर चलाउन सक्ने भइसक्छिन् । माधवीकी आमाजस्तै आजकलका आमाले नयाँ जमानासँगै भित्रिएका प्रविधिसँग कदम मिलाउन भरमग्दुर प्रयास गरिरहेका छन् । आजकल घरघरमा मोबाइल फोन, टीभी र वासिङ मेसिन भित्रिएका छन् । आमाहरूले अन्दाजकै भरमा फोन चलाएका छन् । रिमोट चलाएर टीभी हेरेका छन् । अन्दाजकै भरमा ‘टाइमर’ सेट गरेर मेसिनमा लुगा धोइरहेका छन् ।


जोदाहा नेपाली आमाहरू
काकीले ‘राति उतैबाट बन्द नहुन्जेल रेडियो बन्द गर्दिनँ’ भनेको सुन्ने बेला म निकै सानी थिएँ । उहाँ यस्तै २३–२४ कि हुनुहुँदो हो । अहिले काकीको त्यो भनाइको म एकभन्दा बढी अर्थ निकाल्छु । उहाँले त्यो भन्दै गर्दा हाम्रो बसोबास कुन भूगोल र कस्तो अवस्थामा थियो भन्ने पनि याद गर्छु । सेतीदोभान बजार गएर हामीले भाडामा लिएर बसेका घर हेर्छु । दुईवटा कच्ची घर थिए, एउटाबाट अर्कोमा जान सानो तीन फिट जति अग्लो– ढोका भन्नु कि प्वाल भन्नु थियो । सोच्छु ६ फिटभन्दा अग्ला मेरा बाहरू कसरी वर्षौंसम्म ती घरमा ओहोरदोहोर गरे होलान् । जोडले एकएक लात हाने गर्ल्याम्म भत्केलान्जस्ता घर । मेरी आमाको घर तनहुँ, काकीको चितवन, बुबाहरूको पुर्ख्यौली घर बागलुङ । फुपाजुको पनि उस्तै व्यापार र उस्तै ढुंगामाटोको घरमा डेरा । फुपाजुको पनि घर पर्वतको पाङ । रैथानेहरू वरिपरिका गाउँमा बस्ने । लगभग सबै बाहिरिया व्यापारीहरूले भरिएको डाँडामा भएको नाउँडाडा र आँधीखोला किनारमा भएको सेतीदोभान बजार ।


अहिलेजस्तो पाँच किलो चामल पनि उत्पादकले घरमै पु‍र्‍याइदिने चलन त्यति बेला कहाँ हुनु ? बजारभरिका व्यापारी पुरुषहरू चामल र अरू किराना सामान लिन भैरहवा र चिनी लिन वीरगन्ज आदि सहर जान्थे । घरघर डुलेर, जुटका एक–एक बोरालाई सुइरोले कोपेर चामल विचार गरेर मात्र लोड गर्थे । यसो गरीवरी फर्कँदा एक हप्ता जति लाग्थ्यो । बढीमा एक हप्ता बस्यो, फेरि जम्मा भएको पैसा बोक्यो, भैरहवा वीरगन्ज हिंड्यो । महिनाभरि सामान लिनको लागि भैरहवा–वीरगन्ज गरिरहने हूलका हूल पुरुषमध्येका पुरुषहरू मेरा बुबा, काका र फुपाजु । त्यसमाथि कहिलेकाहीं पुर्ख्यौली घरमा हजुरबा हजुरआमा भेट्न वा दसैंमा टीका थाप्न पनि जाने । हिंडेर जाँदा तीन र फर्कंदा तीन दिन गरेर ६ दिन त बाटोमै सकिने । बस्ने दिन अलग । ती दुई बजारका लगभग सबै पुरुष वर्षका धेरै दिन अनुपस्थित हुन्थे ।


गैंडाकोट बस्दा बुबा चामलका बोरा भरिएको ट्रक लिएर बेंसीसहर जानुहुन्थ्यो । बाटो राम्रो बनिसकेको थिएन । एक हप्ता वा त्योभन्दा बढी समयपछि मात्रै फर्कनुहुन्थ्यो । मान्छेले ‘गौतमजी खोइ त ?’ भनेर सोधे भने आमाले ‘पारि (नारायणगढ, जहाँ हाम्रो राइसमिल थियो) जानुभएको छ, मिलमा’ भन्नुहुन्थ्यो । अचम्म लाग्थ्यो । अहिले सोच्दा लाग्छ, बिरानो ठाउँमा, खोला किनारको सानो बजारमा एकै लातले ढल्नेजस्तो घरमा किशोरी उमेरमै बिहे गरेर भित्रिएका आमा, काकी, फुपूले आफू, छोराछोरी र व्यापारलाई जोगाउन कति तिकडम गरे होलान् । अहिले बल्ल म काकीको रेडियोवाला र आमाको बुबा ‘पारि’ मात्र जानुभएको छ भन्ने कुराको अर्थ एकभन्दा बढी पनि थिए होलान् भनेर निष्कर्ष निकाल्छु ।


‘सुत्केरीको निद्रा हुन्छ, बाक्सामाथि टाउको अड्याएर अलिकति झकाएको पाँचै मिनेट भएको हुन्छ, एक जना आएर साहुनी भन्छ ।’ फुपू, आमा र काकीबाट यस्ता किस्सा कैयौंपटक सुनिएको छ । स्याङ्जा र पर्वतका थुप्रै गाउँ हुँदै बागलुङ, बेनीसम्मका व्यापारीहरूले आफ्नो पसलका लागि चाहिने किराना समानको लिस्ट बनाएर भरियाहरूलाई पठाउँथे । स्कुलको मुखै नदेखेकी फुपू, तीन महिना मात्र स्कुल पढ्न पाएकी आमा र चार कक्षा पढ्दापढ्दै छुटाएर बिहे गरेर पठाइएकी काकीले ती लिस्ट चेक गरेर त्यसअनुसार रिठ्ठो नबिराई दिनभर दर्जनौं भारी पूरा गराएर पठाउनुहुन्थ्यो ।


त्यसबाहेक कुवाको पानी भरेर ल्याउने, खोलामा थाङ्ना धोएर आउने, वर्षौंटे छोराछोरीको स्याहारसुसार गर्ने, पकाउने, खुवाउने, स्कुल पठाउने, स्वेटर र गलैंचा बुन्ने आदि अरू अनगिन्ती काम । एकले अर्कोलाई सुत्केरी गराउने, कसैको साल झरेन भने दोकान बन्द गरेर सुत्केरी डो‍र्‍याएर पोखरा वा स्याङ्जाका अस्पताल पुग्ने । मेरा आमा, काकी र फुपू मात्र होइन ती दुई बजारभरिकै लगभग सबै महिला असाध्यै धेरै शारीरिक श्रम गर्ने मात्र होइन, मानसिक रूपमा पनि त्यत्तिकै बलिया देखिन्थे । यति गरिसकेर पनि एकदमै चल्ने व्यस्त व्यापारमाथि उनीहरूको कमान्ड उत्तिकै बलियो रहन्थ्यो । बागलुङदेखि अनेकौं हन्डर खाँदै, ठाउँठाउँमा बसाइ सर्दै, व्यापार गर्दै हिँडेका बुबाहरूलाई जोदाहा आमाहरूको साथले ऊर्जा नदिएको भए प्रगति गर्न निकै गाह्रो हुन्थ्यो भन्ने कुरामा कुनै शंका छैन ।


आन्विकाको ‘आमाले सक्नुहुन्छ’ कि आमा देख्दा नेपाली समाजका लगभग सबै घरमा रहेका यस्तै जोदाहा आमाहरूको झल्को आउँछ । सकेकै आमाहरूको बीचमा हुर्केको र आज पनि यस्तै महिला देखिरहेको कारण आमाले सक्नुहुन्छ कि आमा पात्र कतै पनि अस्वाभाविक लागिनन् । फुटपाथमा दिनभर कुटाइ र दुर्व्यवहार सहेर पनि व्यापार गरेर घरखर्च जुटाउने, रातिमा भए पनि साइकल सिक्ने, पछि बेच्न मिल्छ भनेर मजदुरी गरेको पैसाले सुन किन्ने वा दीर्घकालीन आर्थिक उन्नतिको आधारको रूपमा दोकान खोल्ने आदि सुझबुझ भएका आमा नेपाली समाजका परिचित आमा नै हुन् ।


बदलिँदा पिताहरू
अहिले पनि घर गएर हेर्दा रमाइलो लाग्छ, अत्यावश्यक परेको बेलाबाहेक हाम्रो घरमा दस नबजी बिहानको भात बसालिँदैन । बिहानभरि दसौं कप चिया खाँदै अनेकौं सामाजिक–राजनीतिक विषयमा बहस हुन्छ । बुबा, काका आमा, काकी, हामी छोराछोरी सबै जम्मा भएर गफ गरिरहेका हुन्छौं । त्यत्तिकैमा अद्वैत संस्था मान्ने काकालाई आमा भन्नुहुन्छ, ‘तपाईंका ती गुरुको पारा भएन है ! काली आइमाईले पनि बिहान उठ्नेबित्तिकै ऐना हेर्छे भनेर पो प्रवचन दिन्छन् ! के भनेको त्यस्तो ?’ काका मुसुमुसु हाँसेर भन्नुहुन्छ, ‘ती गुरु आफैंले तपाईं–हामीले जत्तिको बुझेका छैनन्, त्यसैले ।’ छोराछोरीकै अगाडि भाउजूले मलाई थर्काइ भनेर काकाले अप्ठ्यारो फिटिक्कै मान्नुहुन्न । अस्ति मात्र दसैंपछि काका म, आमा र बुबासँग बहस गर्दै हुनुहुन्थ्यो, ‘सरकारले स्यानिटरी प्याड निःशुल्क बाँडेर मात्र पुग्ने हो कि आफ्नै देशमा उत्पादन होस् भनेर पनि ध्यान पु‍र्‍याउनुपर्ने हो ?’


कहिलेकाहीं काम परेर फोन ग‍र्‍यो बुबाले उठाएर भन्नुहुन्छ, ‘आमा मन्चमा छ ।’ २०६२–६३ को आन्दोलनमा आमा, बहिनीहरू र म जुलुसमा हिँडेका दिनहरूमा बुबाले मेरा र बहिनीका छोराछोरी हेरेर घर कुर्नुभएको छ । ‘आइमाई’ हरू जुलुसमा नजाओ, हामी बाउछोरा मात्र गएर पुगेको छ भनेको सुनिएन । सुरुदेखिकै ‘ब्रह्मज्ञानी’ मेरा बाहरू पनि होइनन् तर आजको दिनमा हेर्दा आमाहरूको आवाजलाई उनीहरू नकार्दैनन् । बुबाहरूले सिक्दै र आफूलाई सुधार्दै गए होलान् । आमाहरूको घर र कारोबार धान्ने जोदाहापनसँग परिचित त थिए नै, बिस्तारै लैंगिक चेतनासँग पनि अभ्यस्त र सहमत हुँदै गए होलान् । शारीरिक रूपमा हट्टाकट्टा र आफ्नो व्यावसायिक क्षेत्रमा पनि दक्ष र प्रतिष्ठित उनीहरू आमाहरूको बलियो व्यक्तित्वको अगाडि आफूलाई कमजोर देख्छन् होला भन्ने लाग्दैन । महिला बलिया हुनु पुरुष कमजोर हुनु होइन भन्ने उनीहरूले बुझेकै छन्जस्तो लाग्छ ।


‘आमाले सक्नुहुन्छ’ कि सूत्रधार माधवीका पिता पनि त्यस्तै छन् । सुरुदेखिकै ‘ब्रह्मज्ञानी’ उनी पनि होइनन् । उनी पनि सिक्दै–जान्दै लैंगिक रूपमा चेतनशील हुन पुगेका छन् । उनी ‘आइमाईजस्तो घरको काम गर्ने’ भन्ने आफ्नै भाइलाई कडा स्वरमा भन्छन्, ‘मजस्तो भान्सामा पस्न जानेको भए हिजोको जस्तो चिउरा र गुन्द्रुक खान पर्दैन थियो ।’


पिता पात्र त्यस्ता मान्छेका लागि आफ्नै बुबा लाग्छन्, जसले घरमा बुबाले आमा, हजुरआमा, फुपू र दिदीबहिनीलाई ‘मान्छे’ को स्थान दिएको देखेर हुर्केको छ वा आज आफूले त्यो स्थान दिन सिक्दै छ । ‘वीर गोर्खाली’ को छविमा आजसम्म बाबुहरूलाई मात्र देखिरहेका कतिपयलाई माधवीका बुबा हिम्मत नभएका मान्छे लाग्न पनि सक्छ । तर सार्वजनिक जीवनमा कम सक्रिय रहनु, घरका महिलालाई हौसला दिएर आफू पृष्ठभूमिमा रहनु उनीहरूको कायरता नभई रोजाइ वा स्वभाव पनि हुन सक्छ भनेर बुझ्नेहरूलाई माधवीका पिता अस्वाभाविक लाग्दैनन् ।


बलिया आमा अर्थात् ॅहर स्टोरी’ का नायिका
वर्षौंदेखि अध्ययन वा रोजगारीका लागि भारतको बनारस, कलकत्ता वा उत्तराखण्डका विभिन्न सहर जाने खस–आर्य होउन् वा पहिलो र दोस्रो विश्वयुद्धमा लडेका जनजाति । वा आज खाडीलगायत विश्वका विभिन्न देशमा पुगेका नेपाली पुरुष, नेपाली समाजमा पुरुषहरूको ठूलो जनसंख्या सधैंजसो ‘एब्सेन्टी पपुलेसन’ अर्थात् अनुपस्थित जनसंख्याको रूपमा रहेको छ । घरका पुरुषको अनुपस्थितिमा महिलाले कृषि र व्यापार धानेका छन्, बच्चा हुर्काएका छन् । आफ्नो पढाइसमेत पूरा गरेका छन्, जागिर खाएका छन्, लोग्नेका वृद्ध र रोगी आमाबाबु स्याहारेका छन्, घरको सम्पूर्ण आर्थिक कारोबार र गतिविधि, बैंकसम्बन्धी कामकाज आदिमा पोख्त भइसकेका छन् । आफ्नै रेखदेखमा पक्की घर बनाएका छन् । सहकारी र महिला समूहका सदस्य छन् र त्यहीँबाट देश र विदेशसमेत घुम्न जान थालिसकेका छन् । अर्थात् उहिलेदेखि ‘सकिरहेका’ नेपाली महिलाले कत्तिको सक्छन् भन्ने कुरा यति बेला सतहमै देखिइसकेको छ । आमाले सक्नुहुन्छ त त्यसको एउटा सानो उदाहरण मात्रै हो ।


स्याङ्जाकै नाउँडाडा–सेतीदोभानको मिश्रित समुदाययुक्त बजारमा बितेको बाल्यकालका याद आउने थुप्रै रमाइला कुरामध्ये एउटा कुरा आफ्नो र छिमेकी घरमा खाइने चियाको फरक पनि हो । घरमा चिनी र चियापत्ती हालेर पकाएको चिया खाएको बानी । कहिलेकाहीं थकाली साथीहरूको घरमा गयो, मज्जाले मोही जसरी पारेको नुनिलो चिया दिन्थे । खानुपर्दा एकदमै अप्ठ्यारो लाग्थ्यो । आजकल महिलालाई केन्द्रीय पात्र, दृढ र बलिया पात्रको रूपमा देखाउँदा ‘यो त अलि बढी नै भयो’ भनेको टिप्पणी सुन्दा बाल्यकालमा आफूले ‘चिया’ भनेर स्विकार्न नसकेको थकाली साथीहरूको घरको चिया याद आउँछ ।


मैले नस्विकार्दैमा त्यो चीज चिया नहुने भन्ने हुँदैन । त्यो चियाको अर्को प्रकार हो र मेरो अस्वीकृतिको बाबजुद त्यो चिया नै रहन्छ । त्यस्तै सधैं ‘भाले बासेको’ सुनिरहेका हामीहरूलाई ‘पोथी बासेको’ सुन्न केही समय अस्वाभाविक पनि लाग्ला । तर दृढ र बलिया महिला हाम्रो समाजमा छ्याप्छ्याप्ती थिए र छन् । मात्र उनीहरूका कथा लेखिनुपर्ने जति मात्रामा नलेखिएका हुन् । अर्थात् आजसम्म पोथीहरू सुनिनेगरी बासेनन् । अब बास्न थालेका छन् र हामीलाई स्वाभाविक–अस्वाभाविक जे लागे पनि यो स्विकार्नुको विकल्प छैन ।


बाल साहित्यमा ‘लालित्य’ पढ्ने बानी परिरहेका हामीलाई किताबमा प्रयोग भएको लवज ठाडो लाग्न पनि सक्छ । चारकक्षा पढ्ने माधवीको मुखबाट ‘हर्कत’ (पृ. १९) जस्ता शब्दभन्दा उनको मुखबाट बढी स्वाभाविक सुनिने शब्द चयन गर्नुपर्ने । सौर्यमण्डल सजिलै भनेकी माधवीले कलमलाई ‘पेन’, छनोटलाई ‘सेलेक्ट’ नभनेको भए हुने । बाल्यकालदेखि नै बच्चाहरूको दिमागमा रहेको लैंगिकताका परम्परागत अवधारणा हटाउनु लेखकको मुख्य उद्देश्य हो भने बालबालिकालाई रुचिकर लाग्ने लवज र सजिला शब्दमा लेख्नको लागि मिहिनेत गर्नु पनि उत्तिकै जरुरी छ । त्यस्तै पहिलोपटक महिनावारीलाई अंग्रेजीको छोटकरी नाम ‘मिन्स’ (पृ. १३१) भनेकी माधवी र उनकी आमा महिनावारीलाई ‘पर सर्ने’ भन्दै संवाद गर्छन् । यहाँनिर लैंगिक रूपमा चेतनशील माधवीको घरमा माधवीले ‘पर सरें’ कसरी भनिन् र आमाले किन ‘पर सर्ने होइन’ भनिनन् भनेर छक्क परिन्छ । लेखकका आगामी बालसाहित्यका किताबमा यस्ता असावधानी नहोलान् भनेर आस गरौं ।


यी सबैका बाबजुद ‘आमाले सक्नुहुन्छ’ निकै थोरै मात्रामा लेखिएका–बोलिएका महिलाका कथा अर्थात् ‘हर स्टोरी’ को संग्रहमा थपिएको एउटा अर्को ‘हर स्टोरी’ हो ।’ किताबको शीर्षक त झन् ‘आमाले सक्नुहुन्छ’ नभई ‘आमाहरूले सकिरहेका छन्’ पो हुनुपर्ने । महिलाका योगदानको अभिलेखीकरण आख्यानमै गतिलोसँग भएको छैन, गैरआख्यानमा त झन् धेरै काम गर्न बाँकी छ । त्यो अभिलेखीकरण हामीजस्ता लेखनमै सक्रिय रहेका महिलाको जिम्मेवारी पनि हो । ‘आमाले सक्नुहुन्छ’मार्फत आन्विका गिरीले यो जिम्मेवारीको एउटा हिस्सा पूरा गरेकी छन् ।

Page 22
कोसेली

अन्न–धन लक्ष्मी

रामभरोस कापडि 'भ्रम'
- कान्तिपुर संवाददाता

कुनै एउटा राजमार्गको तल बग्दै गरेको जीवित नदीमाथि बनेको पुल । साठी–सत्तरी मिटर लम्बाइ हुनुपर्छ । तल हरियो–कञ्चन पानी बगिरहेको छ । एउटी युवती जो अत्यन्तै राम्री छिन्, सुरुवाल–कुर्थामा सजिएकी तिनी पुलको रेलिङ समातेर धेरै समयअघिबाट तल नदीको पानीतिर हेरिरहेकी छन् । अर्थात् तिनी पुलबाट तलको दूरी नापिरहेकी छन् । त्यसै बेला एक जना पुरुष पूर्वबाट पश्चिमतिर पुल हुँदै गइरहेका देखिन्छन् । युवतीले जब एउटा पुरुष आफूतिरै आइरहेको देख्छिन्, उनको अनुहारमा केही क्षणकै लागि भए पनि प्रसन्नता बिजुली चम्केको जस्तो भान हुन्छ । फेरि तिनी पुरानै कुरो तलको पानीतिर हेर्न थाल्छिन् ।
पुरुष नजिकै आउँछन् । उनको चाल–ढालले लाग्छ कि उनलाई युवतीको त्यहाँ उभिनुको कुनै मतलबै छैन । उनी ती युवतीप्रति कुनै ध्यानै नदिएको जस्तो देखिन्छन् । पाइन्ट–सर्ट लगाएका ती पुरुष पच्चीस–छब्बीस वर्षभन्दा बढी उमेरका सायद थिएनन् । ती युवक जब सहज भावबाट आफूतिर नहेरीकनै अगाडि हुइँकिन्छन्, तब युवतीको चेतना फर्किन्छ । तिनी आश्चर्य मान्दै युवकतिर हेर्न पुग्छिन् । तिनलाई यो लागिरहेको थियो कि ती युवकले आफूलाई यो अवस्था देखेपछि एकपटक सोधपुछ गर्लान् । अर्थात् कुनै किसिमबाट प्रतिक्रिया जनाउनेछन् । त्यो नभएपछि युवती केही बेर विचलित हुन्छिन् । टाउको पश्चिमतिर फर्काउँदै युवकलाई सम्बोधित गर्दै आफ्नोतर्फ ध्यान केन्द्रित गराउँछिन् ।
युवती– ‘हजुर, सुन्नुस् त ।’
युवक केही बेर यताउत्ति हेर्छन् कसैलाई आफ्नो अगाडि र पछाडि नदेखेपछि आवाजतिर आफ्नो मुन्टो उठाउँछन् ।
युवती– ‘म तपाईंलाई नै बोलाइरहेकी छु ।’
युवक– (युवक केही वेर आश्चर्यमा पर्छन् अनि सोच्छन् ः अनजान कुनै युवती नजिक एक्लै जानु उचित/अनुचित, सम्भवतः त्यही गुनधुन गर्न थाल्छन् । )
युवती– ‘यता आउनु न ?’
युवक– ‘के कुरो होला ?’
युवती केही नरम भावमा भन्छिन्, ‘तपाईं यता आएपछि पो त !’
युवक अलिक धकाउँदै युवतीको नजिक पुग्छन् । ती युवतीको आँखामा प्रश्नवाचक दृष्टिले हेर्छन् ।
युवती– ‘(आश्वस्त पार्दै) यहाँ कुनै प्रकारको शंका–उपशंकाको गुन्जाइस छैन । मलाई एउटा मात्र कुरो सोध्नु थियो ।’
युवक– ‘ए.. के कुरो ?’
उनी टासिँदै युवतीको अगाडि पुग्छन् । युवती अब फेरि आफ्नो आँखा पुलको तल कलकल बगिरहेको नदीको पानीमा दौडाउँछिन् र युवकलाई अझै नजिक आउन आग्रह गर्दै भन्छिन्, ‘भन्नुस् त यो नदी कत्ति गहिरो होला ?’
युवक पहिले त अवाक हुन्छन् । उनले त नापेको छैन, तर अभियन्ता हुन्, त्यसैले अनुमान लगाउन सक्छन् । सामान्य रूपमा युवतीलाई उत्तर दिँदै भन्छन्, ‘अँ.. यो बीस–पच्चिस मिटर त पक्कै होला ।’
युवती सोध्छिन्, ‘माथिबाट हाम फाल्दा यो नदीमा डुबेर मर्न सकिएला त ?’
युवक आश्चर्य मान्दै युवतीतिर हेर्छन् । केही बोल्दैनन् । लाग्छ, उसको मनमा केही द्वन्द्व चलिरहेको छ । के जवाफ दिऊँ या यस्तो प्रश्न किन सोधिन् ।
त्यत्तिकैमा युवतीले फेरि त्यही प्रश्न दोहोर्‍याउँदै भनिन्, ‘हजुर, भन्नु न । पुलबाट यो नदीमा हाम फालेर कोही मर्न सक्छन् ? ’
युवक एकपटक तल बगिरहेको पानीलाई निहार्दै युवतीमाथि आँखा टिकाउँदै भन्छन्, ‘अवश्य डुबेर मर्न सक्छन् । तर तपाईंले यो प्रश्न किन गर्दै हुनुहुन्छ ?’
युवती फेरि हेर्दै जवाफ फर्काउँछिन्, ‘यो कारणले कि म पुलबाट हाम फालेर मर्न चाहन्छु ।’
युवक अवाक पर्छन् । यी युवती किन मर्न चाहन्छिन् ? उनी पहिलोपटक केही स्थिर हुँदै युवतीतिर हेर्छन् । सुरुवाल–कुर्थामा सजिएकी सुन्दरी यी युवती पढे लेखेकी जस्तो पनि देखिन्छिन् । उमेर २०–२२ वर्ष होला । ज्यान फाल्ने त केही कारण पक्कै होला । उनी आफैं यन्त्रभावले घरबाट निस्केर जीवनलाई तहसनहस हुन छाड्ने संकल्पका साथ यत्ता आएका रहेछन् । संसारिक सुखभोग प्राप्तिबाट वितृष्णा उत्पन्न भइसकेको छ, उनलाई । त्यसको पनि कारण छ । सम्भव छ, पुलमाथि हाम फाल्ने निर्णय गर्ने युवतीको पछाडि पनि त केही बलियो कारण हुन सक्छ ।
युवक सोध्छन्, ‘तपाईं यस्तो सोच्न कसरी सक्नुहुन्छ ?
युवती उत्सुक हुन्छिन्, ‘मतलब, म मरे तपाईंलाई किन चाँसो ? हो, म मर्न चाहन्छु । अब तपाईं जान सक्नुहुन्छ ।’
युवतीको यो रूखोपनबाट युवक आहत हुन्छन् । तर उनी सम्हालिन्छन् । मनभित्र यो भारी बोकेर उनलाई त्यहाँबाट हिँड्न मन लागेन । उनी
आफ्नो पीडा केही समयका लागि बिर्सिदिन्छन् । युवती उनलाई रहस्यमय लाग्न थाल्छ । उनको भित्रसम्मै पुग्न आवश्यक ठानेर युवतीको रूखो व्यवहारलाई चटक्कै बिर्सेर फेरि प्रश्न गर्दै बस्छन्, ‘तपाईंको यो उमेरमा यस्तो खतरनाक निर्णयसम्म पुर्‍याउने बाध्यता केले दिलायो ?’
‘तपाईंहरूले,’ आवेशमै युवतीले बोलिन् । यो कुरा भनिरहँदा उसको आँखा युवकको आँखासँग एकाएक जुध्न पुग्छ । र फेरि तत्कालै नदीको पानीमा भासिन्छ ।
‘हैन,’ मैले त केही गरेकै छैन । भेटघाट पनि अकस्मात भयो । न कहिले देखेको न चिनेको । फेरि मेरो दोष कसरी ?’
‘म तपाईंलाई मात्रै भनेको छैन । तपाईंको जुन जाति छ, पुरुष जाति, त्यसलाई भन्या हुँ । मेरो यो कठोर निर्णय गर्नुको पछाडि यस्तै पुरुषहरूले गर्ने अत्याचार हो ।’
युवकको जिज्ञासा झनै बढ्यो । उनी सोध्छन्, ‘कस्तो अत्याचार ?’
युवतीको घाँटी तलतिर तन्किएकै छ । उनी उत्तर दिन्छिन्, ‘जानुस्, तपाईं यो झमेलामा किन पर्नुहुन्छ ? कति राम्रोसँग तपाईं आफ्नो बाटोतिर लागिरहनुभएको थियो । बेकारै तपाईंलाई डाकेछु ।’
‘ल, तपाईंले नजिक बोलाइहाल्नुभयो, कुरा पनि त भनिदिनुस् । जुन भारी बोकेर म हिँडिरहेको छु, त्यसमा केही नयाँपन होस् र मेरा भारी पनि केही हलुको होस् ।’
‘त्यस्तो कुन भारी तपाईंमाथि छ ? कस्तो राम्रो त हुनुहुन्छ । ’
‘मात्र यही कुरो छ आईमाईमा । आफूमाथि पर्‍यो भने पोखरी–जलाशय वा नदीमा डुबेर मर्न चाहन्छिन् । र जब पुरुषमाथि जुल्म हुन्छ, तब उनको रूप–रंगमाथि ध्यान दिन थाल्छन् । छोड्नुस् मेरो कुरो, पहिले तपाईं भन्नुस् ।’
‘होइन, पहिले तपाईं भन्नुस् । म पनि बुझ्न चाहन्छु ।’
‘त्यसो भए पहिले कसले बोलायो ?’
‘मैले ।’
‘कुरो कसले अगाडि बढायो ?’
‘मैले ।’
‘त्यसो भए कुरा कसले फर्साउने पहिले ?’
‘कुरो त ठीकै हो । भन्न त मैले नै पर्छ ।’
युवक अब आश्वस्त हुँदै भन्छन्, ‘जे होस्, तपाईंलाई ज्ञान त भयो । अब भन्नुस तपाईं यो भुतही नदीमा किन हाम फालेर ज्यान दिन चाहनुभएको थियो ?’
युवती अब केही थाकेको र हारेको जस्तो देखिएकी छन् । उनी एकपटक गहिरो नदीमा आफ्नो नजर दौडाउँछिन् । मुखमा आएको क्लान्त भावलाई स्थिर गर्दै थुचुक्कै रेलिङ तलको पटरीमा बस्छिन् । उता पुलमाथि छेउमा उभिएका युवक पनि केही नजिकिँदै युवतीकै छेउमा बस्छन् । दुवैको भित्र संषर्घ जारी छ । कुरो कहाँबाट सुरु गरौं भनेर ।
युवक, युवतीतिर गहिरो नजरले हेर्दै सोध्छन्, ‘के हो तपार्इंको कथा, जो यस्तो दुःखद निर्णय गर्न पुग्नुभएको थियो ?’
‘ठीक छ, म सुनाउँछु । तर मेरो निर्णय भने अटल छ नि । मेरा लागि अब कुनै अर्को विकल्प बाँकी छैन ।’
‘पहिला भन्नुस् न त ?’
युवती भन्छिन्, ‘मेरो बुबा भोकभोकै बसेर मलाई मैट्रिकसम्म पढाउनुभयो । उहाँको मन थियो, छोरी सुन्दरी छँदै छिन, पढे–लेखेमा कम दाइजोमै विवाह भई घरजम भइहाल्छ । तर जब धेरै प्रयासको बाबजुद केटा पाउन सक्नुभएन, अत्यधिक दाइजो मागका कारण बुबा गलिसक्नुभएको थियो । मलाई लाग्यो कि मेरै कारणले बुबा गल्नुभयो, थाक्नुभयो, चिन्तित बन्नुभएको छ । त्यसपछि निर्णय गरें कुनै जागिर गरी घरखर्च चलाऊँ । विवाह त पछि गरे पनि भइहाल्यो नि । मैले जागिर पाएँ, एउटा कार्यालयमा । कार्यालय प्रमुख अविवाहित थिए । उनलाई मसँग काम गर्न मन पर्‍यो । मसँग हिमचिम बढाए । कुरो यतिसम्म पुग्यो कि हामी दुवैले विवाह गर्नुपर्छ भन्ने निर्णय गर्‍यौं । उनको प्रेमभाव देखेर म मन्त्रमुग्ध थिएँ । लाग्थ्यो कि अब थकित बुबाको अनुहारमा पहिलेझैं खुसी छाउनेछ । यस्तै चिन्तन–मननमा रमाइरहेको बेला एक रात उनको र मेरोबीच सबै औपचारिक सम्बन्धको अन्त्य भयो । अब तीन–चार महिना भइसक्यो । उसको बच्चा मेरो कोखमा आएपछि उनी मबाट टाढिन र तर्किन थाले । बिहे गर्नबाट मात्रै होइन, कार्यालयमा पनि गलत आरोप लगाएर नोकरीबाटै निकालिदिए । अब मलाई घरमा गएर यो कुरो भन्ने आँट छैन ।
बुबाको पुरानै निराश अनुहार फेरि देखिने त छँदैछ, गाउँटोलमा बदनामी हुने अर्को डर । त्यसैले पानीमा हाम फालेर आत्महत्या मात्रै मेरो परिणति बन्न पुगेको हो । म यहाँ त्यही गन्थनमन्थनमा उभिएकी थिएँ कि हाम फालेर पनि मर्न सकिएन भने अर्को बबाल हुन सक्छ ।’
युवक, युवतीको कथा सुनेर गम्भीर बन्न पुगे । उनको आफ्नो व्यथा ती युवतीको अगाडि झिनो लाग्न थाल्यो । उनी धेरै वर्ष विदेशमा गएर धन कमाएका थिए । आमा–बुबा र एउटी बहिनी मात्रै थिए । बुबाले ऋण काढेर कतार पठाएका थिए । दुई वर्षमा पैसा कमाएर घर फर्केपछि बिहे गरिदिए । चार–पाँच वर्ष खुबै रमाए श्रीमतीसँग । आमा–बुबाले रोकिरहेका थिए, अहिले नजाऊ भने । उनीहरूको मनसाय उनले पछि मात्र बुझे, त्यो थियो— दुलहीको कोख भरिएपछि छोरो विदेश जाओस् । तर पाँच–छ महिनामा केही भएन, ड्युटीमा गइहाले । कतारबाट मलेसिया गए फेरि दुवई पनि पुगे । पढेका थिए, राम्रो काम हात लाग्यो । फेरि दुई वर्षपछि आए । योपटक धेरै रकम कमाएर ल्याएका थिए । कर्जा त सकियो नै, पुर्खौली जग्गामा पक्की घर बनाए । घरलाई सजाए, पत्नीलाई गरगहनाको भारी नै बोकाइदिए । बिदा छ महिनाभन्दा बढीको थियो । यो छ महिमा सबैथोक गरे पनि श्रीमतीको कोख भर्न सकेनन् । आमाले धेरै ठाउँ दुहलीलाई लगेर झारफुक गराइन्, धामीझाँक्रीसँग पनि देखाइन् । केही फाइदा भएन । यसैबीच उनी फेरि विदेश हानिए ।
विदेशबाट श्रीमतीको नाममा पटक–पटक रकम पठाइरहेका थिए । उनलाई यो कुरोको कुनै भान थिएन कि चार वर्षसम्म कुनै महिलाले सन्तान नपाए कस्तो अवस्था हुन्छ । उनी रकम पठाइरहेकै थिए । श्रीमतीसँग फोनमा कुराकानी पनि नियमित भइरहेकै थियो । रंगीला गफगाफ गर्न भ्याएकै थिए । वृद्ध आमाबुबालाई पक्की घरमा आराम गर्नुको सुख । सबै आ–आफ्नै धुनमा मस्त थिए । श्रीमती भने एउटा अर्कै खेलमा रमाइरहेकी थिइन् । एक दिन उसले दिएको गरगहना र पठाएको जति सबै रकम लिएर गाउँकै एक अधबैंसे विदुरसँग गइन् । जब यो कुरो उनलाई थाहा भयो, उनलाई आकाशबाट भुइँमा खसेजस्तो भयो ।
उनले मालिकलाई आग्रह गर्दै तत्कालै गाउँ फर्कने भन्दै बिदा लिए । गाउँ आए । गाउँभरि हल्ला फैलियो कि उनीबाट कुनै सखा–सन्तान नभएपछि श्रीमती अरूसँग भागिन् ।
उनलाई यो कुराले निकै ग्लानि भयो । अर्को बिहे गर्दा पनि त्यही सहनुपर्ने भयो । उनले सहर पुगेर आफ्नो जाँच गराए, नतिजा जुन आयो, त्यसबाट पनि उनी निराश भए । चारैतिर अँध्यारो छाएको थियो । पृथ्वी नै पूरै घुमिरहेजस्तो उनले अनुभव गर्न थाले । तन स्थिर भए पनि उनको मन जति गर्दा पनि स्थिर हुनै सकेन । घर फर्किने आँटै उनले गर्न सकेनन् । उनी उतै बरालिन थाले । सम्भवतः उनी पहिलो पटक आफ्नो जीवनमा लक्ष्यविहीन बन्न पुगेका थिए । बाँचू वा मरूँ । र यही अवस्थामा यो पुलमा एउटी युवतीसँग भेट भएको थियो ।
युवतीले जब यो कथा सुनिन्, अवाक बन्न पुगिन् । मृत्युको मुखमा जाने निर्णय गर्ने यी दुई जनाको कथा उस्तै–उस्तै थियो । एउटा पुरुषसँग प्रताडित र अर्को महिलासँग विक्षिप्त । त्यसपछि के ?
पुरुष उठ्छन् । महिला पनि उठ्छिन् । दुवै दक्षिणतिर मुख फर्काएर तल बग्दै गरेको नदीलाई हेर्छन् । दुवै हातले रेलिङलाई बलियोसँग समात्दै एक–अर्कालाई हेर्छन् । दुवैको आँखाबाट आँसुका धारा बग्न थाले । आँखा बन्द गरेर केही स्मरण गर्दै दुई खुट्टालाई नदीतिर फर्काएर दुवै एकैसाथ पानीमा हाम फाल्न खोजेको जस्तो देखिन्थ्यो । दुवैको कथा एकअर्कालाई उद्वेलित गर्छ । तर त्यसपछि के भयो, थाहा भएन । युवक, युवतीतिर हेर्छन् । आँखाले आफ्नो कथा एक–अर्कालाई बताइरहेको छ । दुवै पुलको माथिल्लो भागबाट खुट्टा र हात तल झार्छन् । उत्तरतिर मुख फर्काउँछन् । युवक आफ्नो दायाँ हात युवतीतिर बढाउँछन् । युवती बिनाहिच्किचाहटको हात अगाडि बढाउँछिन् । युवक उनको हातलाई दायाँ हातले दबाउँदै बायाँ हातले कस्दै पूर्व दिशातिर लाग्छन् । दुवैको अनुहारमा अन्न, धन, लक्ष्मी प्राप्त भएको खुसी छाउँछ ।
(मैथली कथासंग्रह ‘एन्टिवायरस’ बाट । अनुवाद ः दिनेश यादव ।)

कोसेली

अधोगतिको कारण

- घनश्याम खड्का

अहिलेभन्दा अलिक अपत्यारिलोजस्तो लाग्छ, किनभने कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवतीसँग बिहे गर्दा अहिलेको कानुनअनुसार १४ वर्ष जेल बस्नु पर्दैन । बरु जातका कारण देखाएर विवाह बिथोल्ने स्यवं बाबु आमा नै रहेछन् भने तीचाहिँ जेल जानुपर्ने अवस्था अहिले छ ।
तर, पुरानो मुलुकी ऐनको जमानामा कुरा अर्कै थियो । अन्तरजातीय विवाह गर्नेलाई कानुनले नै जेल ठोक्नु भन्थ्यो । दलितहरूमाथि हुनसम्मको भेदभाव कानुनले गरेको थियो । त्यस अन्यायपूर्ण कानुनका हजारौं भुक्तभोगी भए होलान् जसको लिखित दस्तावेज कहीँ पनि छैन । यति ठूलो प्रणालीबद्ध अन्यायको कुनै लेख्य प्रमाणै नपाइनुले प्रस्ट हुन्छ, दलितमाथि भएको कानुनी विभेदलाई समाजले सजिलै स्विकारेको थियो । समाजले स्विकारेकै हुनाले सयौं वर्षसम्म पनि कानुन टिकिरहन सम्भव भयो । अनि समाजले नै गरिखाने एउटा ठूलो श्रमजीवी वर्गको पानी नचल्ने बनाएको हुनाले नै यस्तो कानुन पनि बन्न सम्भव भयो ।
२०२० सालमा नयाँ मुलुकी ऐन जारी गरी जातभात मान्ने कामलाई दण्डनीय बनाउनुअघिसम्म राज्यले ब्राह्मणीसँग विवाह गर्ने दलितलाई जेल हाल्थ्यो । यस अन्यायपूर्ण कानुनबाट पीडित हुन पुगेका असंख्य नरनारीमध्येका एक हुन्— साहित्यकार जवाहर रोका । जसको जन्म जेलमै हुन पुगेको थियो किनभने ब्राह्मणकी छोरी उनकी आमा बुद्धिमताले एक दलित युवा मोतीलाल सार्कीसँग प्रेम विवाह गरेकी थिइन् । त्यसबापत सरकारले उनीहरू दुवैलाई चैध वर्ष जेल हाल्यो । उनीहरू जेल जानुअघि नै बुद्धिमताको गर्भमा आएका बालक कालकोठरीमा जन्मन पुगे जसको नाम राखियो जवाहर । बाबुआमाको प्रेमका कारण आफू जन्मिदै कैदमा पर्नुपरेको र पछि दलित भनेर समाजमा पनि छोइछिटो सहनुपरेको पीडाले जवाहरलाई जातपातविरोधी अभियानमा जीवनभर सामेल गरायो ।
नेपालको कानुनले अहिले जात मान्दैन र जातका आधारमा कसैले भेदभाव गर्न पनि दिँदैन । तर, व्यवहारमा चाहिँ छुवाछूत छँदै छ । पानी छोएकामा र मन्दिर पसेकामा दलितहरू अझै पनि कुटिँदै आएकै छन् । दलितसँग भएको विवाहलाई कथित उच्च जातकाले तोडमोड गर्दै दुलाहाको हातखुट्टा भाँच्ने र छोरीका गालामा थप्पड लगाउने काम गरिरहेकै छन् ।
नेपालमा मात्रै नभएर दक्षिण एसियाकै कुप्रथा मानिने छुवाछूत विश्वव्यापीकरणको यो जमानामा व्यवहारबाट लोभ भएर गइसक्नुपर्ने हो तर अझै पनि यो कतै प्रस्ट र कतैचाहिँ अलिक धूमिल रूपमा जहीँतहीँको समाजमा चलिरहेकै छ । आखिर किन यस्तो ? कहाँबाट सुरु भयो यो ? कहिलेबाट सुरु भयो ? गर्‍यो कसले यस्तो घिनलाग्दो चलनको सुरुआत ? सामाजिक न्यायको दृष्टिकोणले सोच्दा जातभातका सन्दर्भमा यी र यस्ता हजार प्रश्न उब्जन्छन् जसलाई सभ्यताको अघिल्लो सिँढी चढ्नुअघि हरेक समाजले कुनै न कुनै दिन उत्तर दिनैपर्नेछ ।
पूरै समाजले न सही, अहिलेलाई भने एक युवा लेखक मेघराज रसाइलीले यस्तै प्रश्नहरू गरेका छन् र त्यसको ऐतिहासिक सन्दर्भमा समाजशास्त्रीय उत्तर पनि फिराउने चेष्टा गरेका छन् हालै प्रकाशित पुस्तक ‘आन्तरिक विभेदको वृत्तान्त’ मा । जनगणना २०६८ अनुसार ३६ लाख जनसंख्या ओगटेको नेपालको दलित समुदायले भोग्दै आएको छोइछिटोलाई केवल दलितकै मात्रै समस्या हो भन्नु गलत हो भन्ने लेखकको अभिमत छ । यसलाई उनले अनेक तर्क, तथ्य र प्रमाणहरूले विश्वसनीय ढंगले पुष्टि पनि गरेका छन् । जातभात र छुवाछूतले गर्दा पूरै दक्षिण एसियाको समाज कर्मकाण्डी, अनुत्पादक र आडम्बरी हुन पुगेको ठहर गर्दै रसाइलीले छुवाछूतका कारण सबै नै कुनै न कुनै रुपमा पीडित रहनुपरेको तथ्यलाई मर्मस्पर्शी ढंगले व्यक्त गरेका छन् ।
पश्चिमाहरूको भौतिक उन्नति र वैज्ञानिक खोज जातभात नभएका कारण श्रमलाई सम्मान गर्ने त्यहाँको सामाजिक व्यवस्थाका कारण सम्भव हुन सकेको पुस्तकको जिकिर छ । हिन्दु समाजमा वेद पढ्नेहरूलाई उच्च सम्मानका साथ हेरिन्छ जब कि यसको आर्थिक उत्पादकत्वमा कुनै प्रस्ट सम्बन्ध छैन । उत्पादनका साधनहरू बढाउने फलामको, छालाको, कपडाको र अन्य कारिगरीका काम गर्नेहरूको समाजले पानी चलाउँदैन । तिनलाई छोएदेखि ‘कपडैसमेत नुहाउनू’ भनेर मनुस्मृतिदेखि मुलुकी ऐनसम्म लेखेको समाजमा औद्योगिक क्रान्तिको आसा गर्न सकिँदैन । जहाजको आविष्कार गर्ने राइट दाजुभाइहरू नेपालमा जन्मेका भए ‘कामी’ भनेर हेपिन्थे र नयाँ खोज गर्ने तिनको सिर्जनशीलता नै त्यसै मरेर जान्थ्यो भन्ने लेखकको अनुमान जायजै लाग्छ ।
हुन पनि हो, श्रम र सीपमा बाँच्नेहरू सबै अछूत भएपछि त्यो समाजमा वैज्ञानिक आविष्कार, उद्योग कलकारखानाको विकास अनि समृद्धि सम्भव हुने प्रश्नै उठ्दैन ।
लगभग तीन हजार वर्षदेखि सुरु भएको जातपात र छुवाछूतले नेपाली समाजलाई विभेद र त्यसले सिर्जना गर्ने अन्यायपूर्ण संरचनाबाहेक केही दिएको छैन । यस जातको संरचनाबाट दलितहरू मात्रै नभएर उच्च जातकै मानिसहरू पनि पीडित हुनुपरेको तथ्यलाई उदाहरणसहित पुस्तकले बयान गरेको छ ।
सबभन्दा उच्च कुलको मानिने उपाध्याय ब्राह्मणको जात प्याज खाएदेखि तल्लो वर्णकी युवतीसम्म विवाह गरेसम्मका कारणले जैसी, खत्री, क्षत्रीलगायतका जातमा घटुवा हुनुपर्ने अवस्था थियो । यसले गर्दा उपाध्याय ब्राह्मणका पुस्ताहरू सदियौंसम्म जात जाने भयले निर्धक्क खुलेर बाँच्न र हाँस्न नसकेको, कर्मकाण्डी मन्त्र जप्दै र सुनपानी छर्किँदै आफूलाई आफैंले ठूलो ठानेर कुनै सिर्जनात्मक र समाज उत्थानात्मक काम गर्ने अवसरबाट विमुख हुनुपरेको अनि त्यस वर्णका महिलाहरू तल्लो जातकासँग विवाह गर्दा शारीरिक र मानसिक रूपले सधैं प्रताडित हुनुपरेको हुनाले जात प्रथाले दलित मात्रै पीडित थिए भन्ने देखाउँदैन भन्ने लेखकको तर्क सुस्पष्ट र व्यवहारसिद्ध भएकाले सहमत हुन जो कसैलाई करै लाग्छ ।
छुवाछूतयुक्त वर्ण व्यवस्थाको विरोध गर्नेबित्तिकै कथित उच्चा जातकाले दलितभित्रकै आन्तरिक विभेदको प्रश्न उठाएर ‘पहिले आफैंभित्रको विभेद हटाऊ’ भनेर दलित अभियन्ताहरूलाई नाजवाफ बनाउने गरेको प्रसंगलाई लेखकले उल्लेख गर्दै भनेका छन्, ‘त्यसको चित्तबुझ्दो जवाफ दिन नसकेर कतिपय दलित अभियन्ताले घोसेमुन्टो लगाएको वा नाजवाफ भएको पनि देखेँ ।’ लेखकको मूल खोज यही प्रश्न वरिपरि घुमेको छ र उनले चित्तबुझ्दो जवाफ पनि दिएका छन् पुस्तकमा ।
‘दलितहरूले नै एकले अर्कालाई विभेद गर्छर्न् भनेर आलोचना गर्नेहरूले वर्णव्यवस्था र जातप्रथा शिरोपर गर्ने राज्यको नीति र व्यवहारलाई बेवास्ता गरेको देखिन्छ’ उनी लेख्छन्, ‘साढे तीन हजार वर्षदेखिको दलनको इतिहास र मुलुकी ऐन १९१० को प्रावधान हेर्दा दलितहरूले एकअर्कालाई विभेद गरेका होइनन्, विभेद गर्न लगाइएको हो भन्ने कुरा घामजत्तिकै छर्लंग छ ।’
यस तथ्यलाई स्पष्ट पार्न लेखकले मिहिनेतका साथ वेद–पुराणमा वर्णित वर्णव्यवस्थासम्बन्धी विधानहरूदेखि मनुस्मृति र राजा जयस्थिति मल्लले ‘मानवन्यायशास्त्र’ मार्फत वर्णव्यवस्थालाई कानुनी रूपमै कसरी लागू गरेका थिए र पछि त्यो ‘दिव्योपदेश’ हुँदै मुलुकी ऐनसम्मले गरेको छुवाछूतजन्य व्यवस्थालाई प्रमाणसहित उल्लेख गरेका छन् ।
जात भन्नु नै तागाधारीका लागि माथि चढ्ने सिंढी र दलितका लागि अनन्त दुःखको दुर्गति हो । यसले एक तप्कालाई मात्रै नभएर पूरै समाजको उन्नतिलाई अवरुद्ध कसरी गरेको छ भन्ने तथ्यलाई पुस्तकले सुस्पष्ट ढंगले व्याख्या र विवेचना गरेको छ । ‘तैं चुप मै चुप’ को अवस्थालाई तोडेर दलितभित्र हुने विभेदलाई पनि सार्वजनिक गर्दै र आमरूपमा हुने विभेदको अन्त्यका लागि समाजलाई वैचारिक रूपले पूरै आन्दोलित पार्दै यो अमानवीय संस्कारको अन्त्य गर्नुपर्छ भन्ने भाव पाठकहरूमा रसाइली उच्च संवेगका साथ प्रवाह गर्न सफल छन् । सभ्य समाजका लागि कलंक सावित जातप्रथाको अन्त्य किन आवश्यक छ भन्ने जान्नका लागि यो पुस्तक एक पठनीय खुराक हो । दलित मुक्तिका लागि काम गर्दै आइरहेको समता बुक्सले प्रकाशन गरेको पुस्तक पढ्नु जो कसैको सामाजिक ज्ञानलाई फराकिलो पार्न मद्दत पुर्‍याउने काम हो ।
Twitter: @Bodhighanashyam

Page 23
कोसेली

'दादा' गिरी

भारतीय क्रिकेट टिमलाई 'एग्रेसिभ' नेतृत्व दिएका सौरभ गांगुली अहिले क्रिकेट बोर्डको अध्यक्ष बनेका छन् । के यसमा कुनै राजनीतिक कारण पनि होला ?
- हिमेश

 

केही वर्षअगाडिसम्म पनि भारतीय क्रिकेट
टिम त्यस्तो थिएन, जस्तो अहिले छ । भारतसँग सचिन तेन्दुलकर त थिए तर टिमले पस्कने क्रिकेट धारिलो थिएन । सन् २००० सुरु हुनै लाग्दा भारतीय टिम ठूलै समस्यामा थियो । त्यति बेला केही प्रमुख खेलाडी खेल मिलोमतो प्रसंगमा नराम्रोसँग फसेका थिए । यसमा कप्तान मोहम्मद अजहरुद्दिन नै थिए । ‘म्याच फिक्सिङ’ काण्डपछि भारतीय क्रिकेटको लोकप्रियता खस्कँदो थियो ।
क्रिकेट भारतमा यति धेरै बदनाम कहिल्यै थिएन । जतिले भारतीय टिमका लागि खेलिरहेका थिए, त्यसमा कुनै दम थिएन । भारतले क्रिकेट त खेल्थ्यो तर त्यसमा जितको चाहना थिएन । विदेशी भूमिमा भारतले जित्नु भनेको त असम्भव नै थियो । तेन्दुलकर आफैंले पनि केही गर्न सकिरहेका थिएनन्, उनको ब्याटबाट रन त निस्किरहेको थियो तर त्यसले चमत्कार गर्न सकेको थिएन । भारतीय टिमका खेलाडी अल्छी देखिन्थे । अहिले नयाँ पुस्तालाई ती दिनका कथा सुनाउनुपर्छ, पत्याउन गाह्रो हुन्छ ।
ठीक यही बेला सौरभ गांगुलीको उदय भयो । उनले के भारतीय टिमको नेतृत्व सम्हाले, प्रदर्शनमा युगान्तकारी परिवर्तन आयो । उनी वास्तवमै कस्ता खेलाडी र कप्तान थिए, त्यसको झल्को दिन एउटा दृश्य काफी छ । सन् २००२ को नटवेस्ट ट्रफीको फाइनलमा भारत र इंग्ल्यान्ड भिडेका थिए । खेल लर्डसमा भइरहेको थियो । लक्ष्य पछ्याइरहेको भारत एकाएक पतनको सिकार भयो । सबैलाई लाग्न थालेको थियो— अब भारतले खेल जित्नेछैन । तर त्यस दिन युवराज सिंह र मोहम्मद कैफले गज्जब खेले । जति बेला भारतको जित निश्चित भयो, लर्डसको प्रसिद्ध बार्दलीमा रहेका गांगुलीले आफ्नो सर्ट फुकाले । उनी ‘टपलेस’ भए । अनि हावामा त्यही सर्ट खुसीले घुमाउन थाले । उनको अनुहारमा खुसी मात्र थिएन, एक प्रकारको हुँकार पनि थियो । गांगुलीले यस्तो गर्नेछन् भनेर कसैले सोचेका पनि थिएनन् ।
त्यसमा भलाद्मीपन पक्कै थिएन । तर यो भारतीय क्रिकेट फेरिँदै छ भन्ने पक्कापक्की प्रमाण थियो । पश्चिम बंगालका यी गांगुलीलाई धेरैले ‘दादा’ भन्ने गर्छन् । जति समय उनले भारतीय टिमका लागि खेले, दादाको जवाफ थिएन । कप्तान छँदा उनले एकपछि अर्को साहसिक निर्णय लिए । त्यसले नतिजा पनि ल्यायो । गांगुलीले भारतलाई विदेशी भूमिमा पनि जित्न
सक्ने टिम बनाइदिए । अहिले भारतीय टिमजस्तो छ, त्यसको जग उनकै पालामा बसेको थियो ।
उनको समयमा भारतीय टिमको ब्याटिङ वास्तवमै निकै बलियो थियो । भारतीय टिमको ब्याटिङ क्रम हेर्नुपर्थ्यो— प्रतिद्वन्द्वी टिमको बलरको पसिना छुट्थ्यो । यो ब्याटिङ क्रमलाई अचेल ‘फ्याब फाइब’ भन्न थालिएको छ । यसमा एक जना त गांगुली नै भए, अरू थिए, वीरेन्द्र सहवागदेखि तेन्दुलकर, राहुल द्रविड र भीभीएस लक्ष्मण । विश्व क्रिकेटमा यत्तिको ब्याटिङ क्रम विरलै देखापरेका छन् । कम्तीमा भारतमा दोहोरिएर देख्न पाइने छैन ।
यिनै गांगुली अहिले भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष भएका छन् । विश्व क्रिकेटकै सबैभन्दा धनी संस्था हो, यो । पूरा विश्व खेलकुदकै सबैभन्दा धनी संस्था भन्दा हुन्छ । गांगुली आउनुअगाडि यो विवादै विवादमा अल्झेको थियो । बीसीसीआईसँग जोडिएका एकपछि अर्को काण्ड भए । पछिल्ला केही वर्ष त भारतीय उच्च अदालतले गठन गरेको समितिले बीसीसीआई चलारहेको थियो । अब भने यही संस्थाले चुनावबाट पक्का अध्यक्ष पाएको छ । अब के हुन्छ त ? सबैभन्दा महत्त्वपूर्ण प्रश्न त यही हो । के उनले बीसीसीआईलाई पनि त्यसरी नै चलाउनेछन्, जसरी भारतीय टिमको नेतृत्व गर्दा गर्ने गर्थे ? उनीसँग खेलेका धेरैले भन्न सुरु गरिसकेका छन्— गांगुलीमा कुनै परिवर्तन आएको छैन । उनी त्यस्तै छन्, जस्तो पहिले थिए । त्यसो भनेको उनले बीसीसीआई चलाउँदा पनि त्यसमा आक्रामकपन हुनेछ । उनी जे सोच्छन्, जे निर्णय गर्छन्, त्यसलाई लागू गर्न पटक्कै पछाडि हट्दैनन् ।
साँच्चै अब के हुन्छ त ? यसको उत्तर चारथरीको सम्भवनामा टिकेको छ । बीसीसीआईमा गांगुलीको उदयले भारतीय क्रिकेट ढाँचामा धेरै परिवर्तन आउनेछ । भारतमा क्रिकेट जत्ति लोकप्रिय रहे पनि, बीसीसीआई नै जत्ति धनी भएपछि यो ढंगले चल्दैन भन्ने धेरै छन् । देशका लागि खेल्ने र आफ्नो प्रान्तका लागि खेल्ने खेलाडीमा ठूलो अन्तर ठ्याक्कै देख्न सकिन्छ, विशेषतः उसले कमाउने रकमले । गांगुली सबैभन्दा पहिले भारतीय क्रिकेटको ढाँचामा परिवर्तन गर्न चाहन्छन् ।
दोस्रो सम्भावना हो, अब भारतीय टिममा कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्रीको जुन दबदबा थियो, त्यो रहनेछैन । कोहलीलाई त धेरै फरक पर्नेछैन, तर शास्त्री दृश्यबाट हराउन सक्नेछन् । यी प्रशिक्षकको एउटा खराब बानी छ, ठूल्ठूला कुरा गर्ने । उस्तै दाबी पनि भयंकर विशाल गर्ने गर्छन् उनी । उनले कतिसम्म भनेका छन् भने अहिलेको जत्तिको भारतीय टिम यसअघि कहिले पनि थिएन । यसले धेरैलाई चिढाएको छ । भनिन्छ, गांगुलीलाई शास्त्री मन पर्दैन । हुन सक्छ, अब शास्त्री आफ्नो वास्तविक आकारमा खुम्चिनेछन् ।
तेस्रो सम्भावना के पनि छ भने अबका दिनमा विश्व क्रिकेटमा भारतले आफ््नो भूमिका अझ बढाउन खोज्नेछ । पछिल्लो समय विश्व क्रिकेट भारतसँगै इंग्ल्यान्ड र अस्ट्रेलियाले चलाइरहेको थियो । यी तीन देशलाई ‘बिग थ्री’ पनि भनिन्छ । भारत ‘बिग वान’ बन्न चाहन्छ । यसका लागि उससँग पैसा त थियो तर नेतृत्व थिएन । अब गांगुलीको उदयले त्यस्तो नेता पनि पाएको छ, भारतले ।
चौथो सम्भावना भने विशाल छ र यसले अझ धेरै अर्थ राख्छ । यसको सीधासीधा सम्बन्ध क्रिकेटसँग छैन, बरू यसले पूरा भारतीय राजनीतिको समीकरण फेरिन सक्नेछ । अबको एक वर्षपछि पश्चिम बंगालमा चुनाव हुँदै छ । अहिले त्यहाँ तृणमूल कांग्रेस र यसकी नेता ममता बनर्जीको शासन चलिरहेको छ । भारतमा पश्चिम बंगाल नै त्यस्तो राज्य हो, जहाँ केन्द्रको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले राम्रोसँगग धाबा बोल्न सकेको छैन । पश्चिम बंगालमा भाजपाको सबैभन्दा ठूलो समस्या नै मुख्यमन्त्री बन्न सक्ने व्यक्तिको अभाव हुनु हो । भाजपाले त्यस्तो व्यक्ति खोज्न थालेको धेरै भइसकेको छ, जसले ममता दिदीलाई चुनौती दिन सकोस् । सायद भाजपाले त्यस्तो उम्मेदवार पाएको छ । ती हुन्— यिनै गांगुली । गांगुली पश्चिम बंगालमा कति धेरै लोकप्रिय छन्, त्यो भनिरहनु पर्दैन । बंगालीहरू त्यसै पनि क्रिकेट भनेपछि हुरुक्क हुने खालका छन्, त्यसमाथि गांगुली
जत्तिको व्यक्तित्व !


लगभग सबै भारतीय मिडियाले एक स्वरमा भन्न थालिसकेका छन्, गांगुलीकै अनुहार बेचेर भाजपा पश्चिम बंगालमा अबको सरकार बनाउन चाहन्छ । सबै घटनाक्रम हेर्दा हो नै जस्तो छ । बीसीसीआईको चुनावमै पनि गांगुलीलाई अध्यक्ष पदसम्म पुर्‍याउने काम भाजपाकै त हो । अझ अमित शाहको काम भन्दा हुन्छ । उनले नै गांगुलीलाई बीसीसीआईमा ल्याउन सबै प्रकारको सेटिङ मिलाएका हुन् । अहिले भारतीय क्रिकेटमा पर्दापछाडि सबैभन्दा बलियो भाजपा नै छ । शाह जे भन्छन्, भारतीय क्रिकेटमा त्यही हुने स्थिति छ । त्यसैले त उनकै छोरा जय शाह बीसीसीआईका सचिव पनि भएका छन्, जुन अध्यक्षपछि सबैभन्दा बलियो पद हो, त्यो संस्थामा ।
अहिलेका लागि चाहिँ के भन्न सकिन्छ भने गांगुली एक्लैले आफ्नो सुझबुझमा बीसीसीआई चलाउनेछन् । त्यसो भनेको अबको केही समय भारतीय क्रिकेटमा ‘दादा’ गिरी चल्ने निश्चित छ । यसैमा टिकेर कुनै दिन गांगुली भारतीय राजनीतिकै ठूलो नाम पनि हुन सक्नेछन् ।
twitter : @himeshratna

कोसेली

मुल्तबीको एक फाइल

- जनकराज सापकोटा

जीवनमा केही घटना वर्षौंसम्म पनि अनुसन्धान नटुंगिएको कुनै फौजदारी कसुरको फाइलजस्ता हुन्छन् । सरुवा भई आउने प्रत्येक नयाँ अफिसरले पल्टाउँछन् । केही नयाँ रहस्य फेला परेझैं चकित हुन्छन् । समयक्रममा रहस्य आफैंमा भ्रम हो भन्ने बुझ्दाबुझ्दै अफिसर सरुवामा पर्छन् । आखिर जीवन भनेको पनि त थाहै नपाई हुने जागिरेको सरुवाजस्तै त हो !
जीवनमा पनि त यस्तै हुन्छ । थाहै नपाई केही भइजान्छ । यात्राका घुम्तीमा अनायासै धूमिल सम्झनाहरू बौरिन्छन् । तर घुम्ती नसकिँदै स्मृति फेरि बाक्लो कुहिरोको पल्लाभित्र हराइजान्छ । सुल्झिन नसकेको केही गुत्थी र फुक्न नसकेका केही गाँठाले जीवनलाई स्वादिलो बनाउँछ कि अल्झाउने बनाउँछ । थाहा छैन, रंगीन बनाउँछ कि रंगहीन बनाउँछ ?
प्रहरी कार्यालयको एक कुना । पुरानो दराजमा चाङ लगाइएको मिसिल । धूलोले छोपिएको मिसिलको कुनै पानामा अल्झिएको एउटा घटना । ‘मुख्य प्रतिवादी’ त्यस दिन घरबाट कार्यथलो काठमाडौं फर्किंदै थिए । उनको निधारमा घामजस्तै आमाले लगाइदिएको रातो टीका थियो । अनि खल्तीमा सरकारले भंग भएको दाबी गरेको यातायात व्यवसायी महासंघको नाम अंकित अधिक भाडा शुल्क अंकित टिकट थियो । छेवैमा बसेका एक वृद्धले थानकोटनेर आइपुगेपछि, दाहिने इस्टकोटको खल्तीबाट कागजको चिर्कटो निकालेर देखाउँदै अनुरोधको भाकामा भने, ‘बाबु यो मेरो छोराको नम्बर हो । फोन गरेर म कलंकी आउनै लाको छु । लिन आउ भन्देऊ त ।’
भएको यत्ति हो । उनले छोराले जसरी बाको अनुरोध माने । कलंकी आयो । स्वाभाविक गतिमा उनी काठमाडौंको हूलमा मिसिए । काठमाडौं मण्डलको प्राचीन चिनारीझैं व्याप्त धूलो र धूवाँको कुइरिमण्डलमा उनले आफूलाई समाहित गरे । शनैःशनैः दिन ढल्कियो । उनी बेडमा पल्टिन मात्रै के लागेका थिए, सेभ नभएको नम्बरबाट फोन आयो । फोनकर्ताले भन्यो, ‘तपाईंकै नम्बरबाट दिउसो बाले फोन गर्नुभाथ्यो । बा त्यसपछि कता जानुभो ?’ उनले बा कलंकीमै ओर्लिनुभएको र आफू आफ्नै बाटो लागेको बताए ।
हो पनि । हामी सबै आ–आफ्नै बाटो हिँड्छौं । अरूको बाटो हिँड्ने रहर र जाँगर हामीसँग छैन । बाटोले हामीलाई कहीँ कतै त अवश्य पुर्‍याउँछ अनि हामी बाटो बदल्छौं र त्यही बाटो अरू कसैको भइजान्छ । तर त्यस दिन अपरिचत बा आफ्नो बाटो नहिँडेर कसको बाटो हिँडे ? उनले यसको भेउ पाएनन् ?
भोलिपल्ट बिहान घाम नझुल्किँदै उनको मोबाइलमा एउटा अनौठो नम्बर झुल्कियो । प्रहरी कार्यालयबाट उनलाई उर्दी आएको थियो । नजाने कुन दर्जाको प्रहरीले दर्जाहीन शैलीमा भन्यो, ‘तपाईंविरुद्ध उजुरी परेको छ । तुरुन्त प्रहरी कार्यालय आउनुहुन्छ कि घरबाटै उठाऊँ ?’
घाम नझुल्किएर के भो र, उनको दिमागमा शब्दको चट्याङ परिसकेको थियो । बुट बजार्दै डेराअघि उभिएका प्रहरी जवान । फलानोजी बाहिर आउनुहुन्छ कि घिच्याऊँ भन्दै चर्को बोली । आँगनमा उभिएका रौद्र अनुहारसहितको प्रहरी देखेर तर्सिएकी पत्नी र सातो गएझैं झस्केकी नाबालक छोरी ।
यति सम्झेर मात्रै पनि उनको ओठतालु सुक्यो । ओसिलो जिब्रोले उनले ओठ र तालु भिजाए । त्यसपछि विगतका घटनाहरू सरसर्ती सम्झे । निजी लेखा फर्ममा कारिन्दा उनले लेखा विवरण राख्दा केही गल्ती गरिएको थियो कि भनेर सम्झिए । सहकर्मी महिलालाई जिस्किँदै कुमले एकाधपटक छोएको घटना बल्झिएर यस्तो भयो कि भनेर सम्झिए । केही सालपहिले असफल प्रेमिकालाई फेसबुक म्यासेन्जरमा केही अभद्र गाली गरेको घटना उल्झियो कि भनेर पनि सम्झिए । अनि सम्झिए, केही सालअघि सरकार र विधि व्यवस्थासँग उठेको रिस फेर्न सिंहदरबारको भित्तामा मुतेको ।
समयका अनेकन फलकमा गरेका अनेकन गल्तीहरू, नोकझोकपछि उत्पन्न प्रतिक्रियाहरू सबै सबै उनको सम्झनामा आए । तर उनी निष्कर्षमा पुग्न सकेनन् । मनको एउटा कुनामा डरको भुमरी देखा पर्‍यो । त्यो भुमरी बारामा आएको टोर्नाडोजस्तो थिएन । तर पनि उनीभित्रको आँट, शौर्य र धैर्यको छाना उडाउन त्यो काफी थियो ।
उनले सम्झिए, हातमा हतकडी र मुखमा मास्क लगाएर दर्जनौं पत्रकार र युट्युबरअघि प्रहरीले आफूलाई उभ्याएर पत्रकार सम्मेलन गरिरहेको दृश्य । एउटा युट्युबेले उनलाई सोध्यो, ‘आखिर तपाईंले यस्तो किन गर्नुभयो ?’ अर्कोले च्याँठ्ठिएर सोध्यो, ‘हाम्रा लाखौं दर्शकलाई भन्दिनुस्, यति गम्भीर घटना गराउन केले बाध्य पार्‍यो ?’ दर्जनौं क्यामेराका फ्ल्यास र दर्जन प्रश्नको तारोले उनी घाइते भएर र डङरङ पछारिए । टुई टुई टुई एम्बुलेन्सको ध्वनि कानको बाटो हुँदै छिर्‍यो । उनी झल्याँस्स बिउँझिएजस्तो भए, भान्छाबाट कुकरले सिठ्ठी मारिरहेको थियो र सानी छोरीले भूकम्पका आएका बेला काम लाग्छ भन्दै उनले ल्याएर राखेको सिठ्ठी फुकिरहेकी थिइन् ।
आखिर उनको मनमा पनि त सानोतिनो भूकम्प आएको थियो । तर त्यो कति रेक्टर स्केलको थियो भन्ने उनले भेउ पाएनन् । राष्ट्रिय भूकम्प मापन केन्द्रलाई उनको मनको केन्द्रविन्दु बनाएर गएको भूकम्पबारे अत्तोपत्तो थिएन । इतिहासको गर्तमा बिलाइजाने एउटा घटनाजस्तो थियो त्यो ।
उनी पत्नीलाई केही नभनी सरासर बाइक हुइँक्याएर प्रहरी कार्यालय पुगे । उनलाई अनुसन्धान अधिकारीहरूले नियन्त्रणमा लिए । एउटा ओसिलो कोठाभित्र पुर्‍याए र चिसो फलामे कुर्सीमा बसाएर सोधे, ‘पानी पिउनुहुन्छ ।’ उनको ओठ तालु सुकेको थियो तर उनले पानी पिएनन् ।
घटनाको सबै व्यहोरा सुनेपछि उनी शीतांग भए । एअर ट्रबुलेन्समा परेका बेला जहाजभित्रका यात्रु जसरी आलसतालस हुन्छन् नि त्यस्तै । पिउँदापिउँदैको पानी अचानक सट्किएर जब आँखाको चेपबाट एक पित्को आँसु निस्कन्छ नि, हो त्यस्तै । अघिल्लो दिन उनको मोबाइलबाट फोन गरेका बा कलंकी ओर्लिएपछि हराएका थिए ।
उनले सम्झे हिजो साँझ ढल्किँदै गरेको बेला र उनी ओछ्यानमा ढल्किन लागेको बेला ती अपरिचत बाका छोराले फोन गरेको कुरा । आज बिहान ती बाको मृत शरीर विष्णुमतीको किनारमा फेला परेछ । त्यसपछि घटनास्थलको मुचुल्का उठाएको प्रहरीले मृतकको छोराको भनाइमा टेकेर उनलाई बयानका लागि बोलाएको रहेछ । प्रहरीले बयान सुरु गर्‍यो ।
यात्रामा बासँग के–के कुरा भयो ?
‘बा सँग... ।’ उनको स्वर लरबरियो ।
‘बासँग नभए कोसँग त ? कुनै तरुनीसँग कुरा त भएन होला ?’ प्रहरीले च्याँठ्ठिएर यस्तै केही भनेको हुनुपर्छ । तर उनले यति मात्रै सुने, ‘हो बासँग ।’
‘बाले म डाँडामाथिको घाम हुँ । जुनसुकै बेला पनि अस्ताउन सक्छु भन्नुभएको थियो ।’
‘बाले त्यस्तो किन भन्नुभयो त ?’
‘खै । बाले त्यस्तो भनेपछि मैले मेरो बालाई सम्झिएको थिएँ । मेरो बा पनि त्यस्तै भन्नुहुन्थ्यो ।’
‘बाले गरेको अरू कुरा नसम्झेर यही कुरा तपाईंले कसरी सम्झिनुभयो ?’
‘मैले उहाँको अनुहारमा बाको झल्को देखें । त्यही भएर ।’
‘तपाईंको बासँग कस्तो सम्बन्ध छ ?’
अनुसन्धानमा यो प्रश्न किन आयो ? मृत्युको घटनासँग आफ्नो बालाई किन जोड्न खोजिएको हो ? उनले भेउ पाएनन् । उनी केही बेर रोकिएका बेला प्रहरीले हातको लठ्ठी टेबलमा बजार्‍यो र सोध्यो, ‘मेरो प्रश्न सुन्नुभएन कि बुझ्नुभएन ?’
‘बा मलाई औधी माया गर्नुहुन्छ तर कान्छोलाई भन्दा थोरै ।’
‘किन ? आखिर किन त्यस्तो भयो ।’
बालाई कान्छो अस्ट्रेलिया गएकोमा औधी गर्व छ । कान्छोले अस्ट्रेलिया घुमाएपछि बा फुरुंग हुनुभएको थियो । तर मप्रति औधी गुनासो गर्ने हुनुभएको थियो । बाले अंशबन्डा गर्ने बेलामा पनि कान्छाकै पक्ष लिनुभयो । बन्डा त भयो तर मेरो भागमा ऋण धेरै पर्‍यो ।
यति सुनाएपछि बयान सकियो । प्रहरी कोठाबाट अलप भए । जब उनी होसमा थिए, उनको वरिपरि पत्रकारहरू, युट्युबेहरू उभिएका थिए । तिनका हातमा तिखो माइकहरू थिए । तिनका मुख वाचाल थिए ।
भोलिपल्ट अखबारमा छापियो ।
‘विष्णुमतीको किनारमा वृद्धको शव फेला ः हत्याको आशंकामा फलानो पक्राउ’ अनलाइनमा देखियो ।
‘वृद्ध हत्याको आरोपमा फलानो पक्राउ ः हत्याको कारण यस्तो थियो’ युट्युबमा देखियो ।
‘आखिर यसकारण गरिएको रहेछ वृद्धको हत्या ।’
‘बाबुसमान वृद्धको हत्याराले खोले यस्तो रहस्य ।’
‘मृतकका छोराले गरे पर्दाफास ।’
‘मृतककी छोरीले गरिन् भयंकर खुलासा ।’
त्यसपछि के–के भयो । उनको समझमा रहेन । घटनाले जता–जता डोर्‍याउँछ उनी त्यतै–त्यतै लुरुलुरु पछि लागे । जसरी छाया हिँड्छ नि वस्तुको गतिअनुसार हो त्यस्तै ।
घटनाको एक महिनापछि उनी अदालतबाट निर्दोष सावित भए । फर्केर उनी मधुरो घाम छिर्ने डेरामा पुगे । त्यहाँ सुनसान थियो । उनकी पत्नी कहाँ थिइन्, उनलाई त्यो पत्ता लगाउनु थियो, उनको छोरी कोसँग थिइन्, उनलाई त्यो खोज्नु थियो । तर उनलाई वृद्ध बाको हत्या कसले गर्‍यो ? किन गर्‍यो ? भन्ने कुरा खोज्नु थिएन ।
पत्रकारहरूले घटनाको दोस्रो महिना लेखे– वृद्धको हत्या रहस्यमय ।
पत्रकारहरूले तेस्रो महिना लेखे– तीन महिना भइसक्दा पनि वृद्ध हत्याको रहस्य खुलेन ।
यसरी कैयन दिन, रात, साता र महिनाहरू बिते । मुख्य प्रतिवादी भनिएका तन्नेरी दृश्यबाट हराए । सायद उनी दृश्यबाट हराएको दिन काठमाडौं उपत्यकामा गठेमंगलको जात्रा निकालिएको हुनुपर्छ । अथवा गाईजात्राको एउटा अलग संस्करण राजधानीमा भित्रिएको हुनुपर्छ ।

Page 24
कोसेली

'हामी गुड लभर'

अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक एवं अभिनेता निश्चल बस्नेतको जोडीलाई सुरुमा धेरैले 'नसुहाउँदो' भनेका थिए । अहिले भने उनीहरू वास्तविक जीवनमा मात्र नभई पर्दामा समेत जोडीका रूपमा आउँदै छन् ।
- सुशील पौडेल

 

स्वस्तिमा खड्का । उमेर २० वर्ष । वर्ण गोह्रो । सहअभिनेत्रीका रुपमा अभिनित फिल्म ‘होस्टेल रिर्टन्स’ भर्खर भर्खर चलेको थियो ।
निश्चल बस्नेत । उमेर ३४ वर्ष । वर्ण श्याम । ‘लुट’ बाट निर्देशकमा चम्किसकेका उनी ‘उमा’, ‘फिटकिरी’, ‘कबड्डी’, ‘टलकजंग भर्सेस टुल्के’ बाट कलाकारका रूपमा पनि स्थापित भइसकेका थिए ।
स्वस्तिमा र निश्चलले २०७२ फागुन ५ मा विवाह गरेपछि फिल्म क्षेत्रका अधिकांशलाई सरप्राइज नै भयो । धेरैले त्यही बेलादेखि नै भन्न थाले, ‘यो जोडी मिलेकै छैन, छिट्टै छुट्टिन्छ !’ शंका गर्नेहरू स्वस्तिमाले फिल्म खेल्न पाउने स्वार्थमा निश्चललाई रोजेकी र निश्चलले कलकलाउँदी राम्री केटीमा लोभिएको टिप्पणी गर्थे । कतिले त अझै पनि त्यही ठान्लान् । तर, यो जोडी भने वैवाहिक जीवनको चार वर्ष बित्न लाग्दा पनि आफूहरू अझै हनिमुन पिरियडमै रहेको हासो गर्छन् ।
कुनै बेला विवाहका लागि चर्को दबाब झेलेका निश्चललाई यति बेला सन्तान कहिले जन्माउने भन्ने अर्को दबाब पनि उत्तिकै छ । आखिर उमेर पनि त घर्कंदो छ । झन् त्यसमा पनि घरको एक्लो छोरो । निश्चल भने यी दुई दबाबको मात्राबारे भन्छन्, ‘अगाडि जुन पहाड छ, त्यही ठूलोलाग्दो रहेछ । पछाडी कत्रो पहाड चढियो भन्ने कुराले अर्थ नराख्दो रहेछ ।’
निश्चल, स्वस्तिमा कहिलेदेखि फेसबुक फ्रेन्ड बने दुवैलाई याद छैन । तर निश्चललाई स्वस्तिमाका बारेमा भन्ने र साथी बन्न उक्साउने भने उनकै भतिजी रहिछन् । निश्चलले स्वस्तिमाका कामका बारेमा फाट्टफुट्ट प्रतिक्रिया दिइरहन्थे भने स्वस्तिमालाई पनि निश्चलको कुरा गर्ने शैली र फेसबुकका स्टाटस राम्रा लाग्थे रे । ‘कतिपय निर्देशक, निर्माताहरू नयाँ हिरोइन भन्नेबित्तिकै जसरी बोल्न बहानामा नजिक हुन खोज्नुहुन्थ्यो, उहाँ (निश्चल) त्यस्तो हुनुन्नथ्यो । त्यही कुरा नै मलाई मन पर्थ्यो ।’ त्यसो त ‘कबड्डी’ हेरेपछि भने निश्चल अझ मन परेछ । ‘मान्छे त खासै राम्रो हैन । एक्टिङ पनि ठीकठाकै हो । तर मलाई खै कस्तो मन पर्‍यो,’ स्वस्तिमाले थपिन्, ‘म सिम्पल, जेन्युन मान्छेप्रति छिटो आकर्षित हुन्छु । अनि मभन्दा अलि पाको । स्कुलमा पनि मलाई सिम्पल दाइहरू देख्दा मन पर्थ्यो ।’
त्यसपछि च्याटमा लगातार ३, ४ दिन कुरा भएपछि एक दिन स्वस्तिमालाई निश्चलले म्यासेज गरे, ‘ह्याप्पी बर्थ डे खड्काजी । ट्रिट दिने हैन त ?’ संयोग, स्वस्तिमाको जन्मदिन २–३ दिनमै आउँदै रहेछ । उनलाई निश्चलले हाँसोमा भनेको कुरा साँच्चैजस्तो लागेछ । ट्रिटका लागि हुन्छ भनिदिइन् । ‘त्यसपछि त हाम्रो भेट दिनहुँ हुन थाल्यो । नभेटेको दिन मिस हुन्थ्यो,’ स्वस्तिमाले सुनाइन्, ‘उहाँले त्यस्तो साइडचाहिँ हान्नुहुन्थेन । त्यसैले पनि होला, मलाई उहाँप्रति रेस्पेक्ट थियो । अनि एउटै क्षेत्रमा भएकाले पनि मलाई बिहेपछि यसै क्षेत्रमा काम गर्न सहज हुन्छ भन्ने पनि लागेको थियो ।’
त्यसो त निश्चललाई पनि स्वस्तिमालाई प्रभावित पार्ने भन्ने दिमागमा आउँदै आएन । ‘हाम्रो कुराको सुरुआत यसलाई म प्रभावित गर्छु र प्रेममा पार्छु भन्ने तरिकाबाट नै भएन । यसै च्याटमा गफ हुँदाहुँदै दुवैलाई रमाइलो लाग्यो । म हत्तपत्त जोकोहीसँग बोलिहाल्न सक्दिनँ । तर उसँग टेक्स्टमा बोल्दा पनि मजा आयो । मान्छे राम्रो लाग्यो । तर पनि योसग बिहे गरौं वा लभ गरौं भन्नेजस्तो दिमागमा आएकै थिएन ।’ विवाहको प्रस्ताव स्वस्तिमाले नै राखिन् । निश्चलले पनि मन पराउने हिन्ट पाएपछि उनले विवाहको प्रस्ताव गरिन् । निश्चलले नमान्ने कुरै थिएन ।
अन्ततः बिहे भयो । सानै उमेरमा बिहे गर्न लागेको कुराले स्वस्तिमाका कतिपय साथीहरू त अचम्मै भए । कतिले चाहिँ बिहेपछि हिरोइनको करिअर सकिन्छ भनेर यति छिट्टै बिहे नगर्न पनि सम्झाए । ‘म आफैंलाई पनि यति छिटो बिहे गर्छु होला भन्ने लागेको थिएन । २७, २८ वर्षमा गर्छु होला भन्ने लाग्थ्यो । मैले भनेको भए उहाँले २, ३ वर्ष अझै कुर्नुहुन्थ्यो होला । तर उहाँकै सजिलोका लागि पनि मैले त्यो गर्न चाहिनँ । मैले नै बिहे गरौं भनेको थिएँ’ स्वस्तिमाले सुनाइन् ।
बिहेपछि निश्चल कहिलेकाहीं एक्लै छँदा साथीभाइहरूसँग गर्ने रमाइलो ‘मिस’ गर्छन् । ‘बिहेपछि आफ्नो जिम्मेवारी अरू कोही भइसकेको हुन्छ भने अरू कसैको जिम्मेवारी आफू बनिसकेको हुँदो रहेछ । एक्लो हुँदाको जस्तो त बिहेपछि हुँदै हुँदैन । त्योबेलाका मज्जा मज्जाको चीजहरू यसो सम्झिइन्छ तर अब त्यही पाराले हिँडेर त चल्दैन,’ निश्चलले फेरि भने, ‘कतिपय कुरा मिस त हुन्छ । तर त्यसले के फरक पर्छ र ? अहिलेको अवस्थामा बानी पर्न मात्रै समय लागिरहेको हो । अब
आफ्नो लागि मात्रै सोच्ने दिन गए । मबाट हामी भनेर सोच्न केही समय लाग्ने रहेछ ।’
स्वस्तिमालाई निश्चल पतिका रूपमा भन्दा प्रेमीका रूपमा बढी जमेको लाग्छ । भन्छिन्, ‘हामी गुड हस्बेन्ड एन्ड वाइफभन्दा पनि गुड लभर हो जस्तो लाग्छ । पति–पत्नीको रूपमा हामी त्यो तहमा रेस्पोन्सिबल हुन सकिरहेको छैनौं ।’ यसैले पनि होला, स्वस्तिमा अहिल्यै सन्तान जन्माइहाल्ने पक्षमा छैनन् । ‘सन्तानका लागि जिम्मेवारी लिन सक्ने अवस्थामा हामी पुगिसकेका छैनौं, आर्थिक, मानसिक रूपले नै । कम्तीमा ऊ नभएको अवस्थामा पनि म आफैंले पनि जिम्मेवारी बहन गर्न सक्ने अवस्थामा हुनुपर्‍यो’ स्वस्तिमाको कुरा निश्चलले काट्न त सकेनन् तर ढिलो गरिहाल्ने पक्षमा पनि उनी छैनन् । बच्चा जन्माएपछि करिअर नै धरापमा पर्ने हो कि भन्ने डर सायद स्वस्तिमालाई छ ।
‘यो फेज मैले त अझै इन्जोए गरिरहेको छु । मैले दसवटै बच्चा पाए पनि करिअरका लागि पछि कसैसँग डिपेन्डेन्ट हुन नपरोस् । त्यो ग्यापले मेरो करिअरलाई असर नगर्ने अवस्था होस् । त्यो स्टेजको करिअरमा पुग्नुछ मलाई पहिले,’ स्वस्तिमाको कुरामा निश्चलले भने, ‘हामीले जहिलेसम्म सकिन्छ, यही फिल्डमा नै काम गर्ने हो । हाम्रो जस्तो फिल्म क्षेत्रमा बिहे गरेपछि, बच्चा पाएपछि करिअर नै सकिएको ठानिन्छ तर विदेशतीर बिहे गरोस् कि बच्चा पाओस् कि वा जुनसुकै उमेरकाको पनि सुहाउँदो भूमिका खोजिन्छ । हामीले पनि ती कुरालाई सेट गर्दै लग्नु जरुरी छ ।’
यी दुई पति–पत्नीले पहिलोपटक ठूलोपर्दामा सँगै अभिनय गरेको फिल्म ‘घामड शेरे’ प्रर्दशनको क्रममा छ । कलाकारको रूपमा स्वस्तिमाले गत वर्षको फिल्म ‘बुलबुल’ बाट निकै ठूलो प्रशंसा र प्रायः सबैजसो पुरस्कार पाइन् । निश्चलका लागि भने यो एउटा परीक्षा नै हो । किनभने उनी मुख्य हिरो भएको यो नै पहिलो फिल्म हो । यसमा उनीहरू साली–भेनाको जोडीका रूपमा देखिँदै छन् । खोलालाई नै मुद्दा हालिदिने घामड चरित्रको रूपमा निश्चल यो फिल्ममा देखिएका छन् ।
‘लुट’ फिल्म बनाएर नेपाली फिल्मको नक्सा परिवर्तन गर्ने निश्चल र ‘बुलबुल’ बाट नयाँ छिमलमा अभिनयको नयाँ मानक बनाएकी स्वस्तिमाको यो जोडीले पर्दामा कस्तो कमाल गर्छ, हेरौं ।

कोसेली

'लुम्बिनीले बचाउन सकेन'

- कान्तिपुर संवाददाता

प्रसंग २६ सय वर्षअघिको हो । एक दिन राजकुमार सिद्धार्थका काकाको छोरा देवदत्तले वाण हानेर ठूलो सारस हाँस खसाले । घाइते उक्त हाँस संयोगले राजकुमार सिद्धार्थको अघि आएर खास्यो । उनले मल्हमपट्टी गरेर हाँसलाई राहत प्रदान गरे । प्राण जोगाए, मर्न दिएनन् ।
देवदत्तले भने आफूले वाण हानेर खसालेकाले त्यसमा आफनो अधिकार दाबी गरे । सिद्धार्थले घाइते बनाउनेभन्दा ज्यान बचाउनेको अधिकार लाग्ने भन्दै दिन इन्कार गरे । यो विषय राजसभासम्मै पुग्यो । व्यापक छलफल भयो । छलफलमा एक युवा सभासदले भने यो विषयमा धेरै विवाद आवश्यक छैन । कुनै पनि प्राणीको जीवन मार्न खोज्नेभन्दा रक्षा गर्नेको हुन्छ । त्यसकारण हाँसमा अधिकार सिद्धार्थको लाग्छ । हाँसले नयाँ जीवन पाउँछ ।
अहिले लुम्बिनीमा सारस हाँसलाई कसैले वाण हान्दैन । तैपनि, बिजुलीको तार र कुकरको टोकाइले सारसले अकालमा ज्यान गुमाइरहेका छन् । यिनलाई जोगाउने सिद्धार्थ भने यता कतै छैनन् ।भदौ दोस्रो साता र असोज पहिलो साता लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई जोडी सारस मरे । एउटा जोडी वार्ड नं. ४, महुवारीमा । अर्को जोडी वार्ड नं. १, भगवानपुरमा । एक जोडी विश्वमै दुलर्भ सारस महुवारीमा पश्चिमबाट पूर्वतिर उड्दै थिए । होचो ठाउँबाट तानिएको ३३ हजार भोल्टको बिजुलीका नाङ्गो तारमा खुट्टाले छोयो । दुवै चरा भुइँमा बजारिए । छटपटाए । र, प्राण त्याग गरे ।
भगवानपुरमा भने कुकुरले लेखेटेर सारसलाई मारेको थियो । गत चैतमा लुम्बिनी यही नगरपालिकाको खुनगाईमा पनि बिजुलीको तारमा अल्झेर एउटा सारस मरेको थियो । ‘५/६ वर्षअघिसम्म बर्सेनि ३/४ वटा मर्थे,’ संरक्षणकर्मी अर्जुन कुर्मीले भने, ‘अहिले बढेर दोब्बर भएको छ ।’ बढ्दो सहरीकरणसँगै घाँसे मैदान र सिमसार घटेकाले आहाराका लागि परपरसम्म पुग्नुपर्दा समस्या भएको उनले बताए । लुम्बिनी नेपालमै सबैभन्दा बढी दुर्लभ सारस पाइने स्थल हो । चराविद् दिनेश गिरी दुई वर्षअघि दानव नदीको किनारमा एकैपटक ९८ वटा सारस देखेको सम्झेर अहिले पनि रोमाञ्चित हुन्छन् । उनका अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने विदेशी पर्यटकमा केही सारस हेर्न आउने पनि हुन्छन् । ‘तर, लुम्बिनीमै सारस बर्सेनि असुरक्षित हुँदै जाँदा नराम्रो सन्देश जान्छ,’ अर्का चराविद् हेमसागर बरालले भने ।


चराविद्हरूका अनुसार बिजुलीका नाङ्गा तार र भुस्याहा कुकुर सारसका लागि चुनौती बनेका छन् । ओथारो बस्ने बेला मानिसबाट उनीहरू असुरक्षित हुन्छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी लुम्बिनी गुरुयोजनाभित्र भूमिगत तार बिछ्याएर लाइन वितरण गर्ने काम सकिने आवस्था पुगेको बताउँछन् । नगरपालिकाले गत वर्ष सारसलाई नगर पन्छी घोषणा गरेको थियो । संरक्षणको काम भने प्रभावकारी नभएको चराविद्हरू बताउँछन् । नगरप्रमुख मनमोहन चौधरी बलरामपुरमा सिमसार क्षेत्र र आमा गाउँमा बर्ड पार्क बनाउन थालेको बताउँछन् । उड्न सक्नेमध्ये सबैभन्दा अग्लो चरा सारस हो । यो करिब १० किलो तौलसम्मको हुन्छ । वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पन्छी प्रजातिमध्ये एक हो । नेपालमा ५ सय सारस भएको अनुमान गरिएको छ । जसमा कपिलवस्तु, रूपन्देही र नवलपरासीमा मात्रै ३ सयभन्दा बढी सारस भएको चराविद् डा. बरालले बताए । कम देखिन थालेपछि सन् २००० मा सारस दुर्लभ पन्छीमा सूचीकृत भएको थियो ।
– मनोज पौडेल

कोसेली

हेलिकोप्टर बोक्ने ट्रक !

फोकस आउट
- कुम्भराज राई

सोलुखुम्बुको लुक्लामा दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर ट्रकको यात्रामा । क्षतिग्रस्त हेलिकोप्टर बोकेर काठमाडौं जाँदै गरेको ट्रकको यो तस्बिर ओखलढुंगाको गोरुमारे भञ्ज्याङमा लिइएको हो । फाप्लुसम्म यसलाई अर्को हेलिकोप्टरले बोकेर ल्याएको थियो । गत वैशाख १ गते समिट एयरको विमानले पार्किङ गरिएको ठाउँमै यस हेलिकप्टरलाई ठक्कर दिएको थियो । घटनामा समिट एयरका कोपाइलटसहित तीन जनाको मृत्यु भएको थियो ।