You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

१ मिलि सेकेन्डले स्वर्ण

- ध्रुव तुलाधर,हिमेश
दशरथ रंगशालामा मंगलबार १० हजार मिटर दौड पूरा गर्दै सन्तोषी श्रेष्ठ (बायाँ) र भारतकी कविता यादव । तस्बिर ः केशव थापा/कान्तिपुर

(काठमाडौं) - एथलेटिक्स खेलै पुरानो । यसलाई ‘फादर अफ स्पोर्ट्स’ मानिन्छ । यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले मंगलबार स्वर्णपदक जितेर इतिहास रचेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त यो उपलब्धिले उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी हुन् ।
सन्तोषीले दशरथ रंगशालाको ट्र्याकमा १० हजार मिटर दौडमा त्यो सफलता हासिल गरेकी हुन् । उनले एक मिलिसेकेन्डले मात्र भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछाडि पारिन् । सन्तोषीको टाइमिङ निस्कियो ३५ मिनेट ०७.९४ सेकेन्डको । कविताको टाइमिङ थियो ३५ मिनेट ०७.९५ सेकेन्ड । एक मिलिसेकेन्ड भनेको त्यति थोरै समय हो, जुन एक सेकेन्डलाई हजार भाग लगाउँदाको एक भाग हो । अर्थात्, हजार मिलिसेकेन्ड बराबर एक सेकेन्ड हुन्छ । ‘फोटो फिनिस’ (यति नजिक कि अन्तिम रेखा पार गर्दा शरीरको भागबाट गरिनुपर्ने मूल्यांकन) कै रूपमा उनले बाजी मार्दै इतिहास कोरेकी हुन् । एक मिलिसेकेन्डले जीवनमा के अर्थ राख्ला ? यही एक मिलिसेकेन्डले सफलता चुमेकी सन्तोषीले
सुनाइन्, ‘टाइम म्यानेजमेन्टमा धेरै कमजोर हुँ । रनिङमा लागेपछि एक मिलिसेकेन्ड पनि कति महत्त्वपूर्ण छ भन्ने बुझ्न थालेकी छु ।’
तेस्रो भएकी श्रीलंकाली निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेन्डमा दूरी पार गरेकी थिइन् । सात प्रतिस्पर्धीमा नेपालकी विश्वरूपा बुढा (३८.२४.०३) छैटौं स्थानमा रहिन् । सन्तोषीेले जितेको यो स्वर्णपदक धेरै अर्थमा विशेष रह्यो ।

मध्यम दूरीमा मिलिसेकेन्डमा नतिजा निस्कनु नै दुर्लभ हुन्छ । अर्को, सागमा नेपालले मध्यम दूरीको दौडमा पाएको ठूलो सफलता हो । त्यसमाथि उनको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जित पनि थियो ।
यसअघि नेपाललाई सागमा सबै स्वर्ण म्याराथनबाट आएको छ । वैकुण्ठ मानन्धरले तीन, टीका भण्डारी र राजेन्द्र भण्डारीले १–१ स्वर्ण जितेका छन् ।
आफ्नै भूमिमा साग आयोजना भए पनि रंगशाला पुनर्निर्माणका कारण एथलेटिक्सका खेलाडीले ट्र्याकमा पाइला राख्नै पाएका थिएनन् । साग तयारी भद्रकालीस्थित आर्मीको ट्र्याकमा गरेका थिए । सिन्थेटिक ट्र्याकबारे बेखबर थिए । तर सन्तोषी आफ्नै लयमा दौडिरहिन् । बस, उनलाई यति थाहा थियो कि उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । त्यहीअनुसार मिहिनेत गरेकी थिइन् । उनले त्यसै गरिन् ।
सुरुदेखि अग्रता लिइरहेकी सन्तोषी र भारतीय कविता एउटै गतिमा दौडिरहेका थिए । २५ ल्यापको फन्को मार्नुपर्थ्यो । अन्य प्रतिद्वन्द्वी पछाडि नै थिए । अन्तिम ल्यापको ५० मिटर बाँकी छँदा कविताले उछिन्दै सन्तोषीलाई कुनापट्टि च्यापिन् । तर, आफ्नो गतिलाई अलि बढाइन् ।
‘उनीहरू त अनुभवी छन् । किक पावर राम्रो होला । मेरो पनि किक पावर त छ । तर अन्योल भइरहेकी थिएँ । अन्तिममा म कुनापट्टि च्यापिएँ । हडबढाएँ । तर तत्काल सोचिहालें म अब राइट साइडतिर जानुपर्छ,’ सन्तोषीले त्यो क्षण सुनाइन् । त्यतिबेला आफूले सबैका लागि केही गरेर देखाउनुपर्छ भनेर सोचिहालेको उनले बताइन् । भनिन्, ‘त्यतिबेला मेरा लागि भन्दा पनि विकटमा रहेर होस् या यहीं सहरमा रहेर शिक्षादीक्षा पाउन नसकेका महिलाका लागि मैले दौड्नुपर्छ, देश, गुरु, परिवारका लागि दौड्नुपर्छ भन्ने लाग्यो ।’
यो विधामा सन् २००६ को कोलम्बो सागमा कान्छीमाया कोजुले रजत पदक जितेको इतिहास छ । राष्ट्रिय कीर्तिमान पनि उनै कान्छीमाया (३५ मिनेट ०३.४३ सेकेन्ड) को नाममा छ । जुन कोलम्बो सागमा रजत जित्दाकै हो ।
‘मलाई विश्वास नै लागिरहेको छैन । के मैले जितें र ? अझै कुद्न बाँकी थियो कि,’ अन्तिम क्षण सम्झँदै सन्तोषीले भनिन्, ‘मलाई एकदमै डर थियो । उनीहरू (प्रतिद्वन्द्वी) धेरै खेलिसकेकाहरू थिए । मेरो त पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । अन्तिममा किक राम्रो गर्ने हुन् कि भन्ने थियो । तर उत्कृष्ट दिन्छु भन्नेमा दृढ थिएँ । ट्रेनिङमा पनि गुरु र साथीहरूसँग पनि यसैबारे टिप्स लिइरहेकी हुन्थें ।’
नेपाली एथलेटिक्सको सात दशक लामो इतिहासमा महिलातर्फ पहिलो स्वर्ण पदक दिलाएकी सन्तोषीप्रति सम्मान गर्दै ट्र्याकमै एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ पुरस्कार
दिने घोषणा गरेका छन् ।
आठौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडकी स्वर्ण विजेता उनले अन्य थुप्रै स्थानीयस्तरको प्रतियोगितामा मध्यम दूरीमा सफलता पाएकी छन् । तर उनी प्रोफेसनल एथलिट होइनन् । उनी कुनै विभागमा आबद्ध छैनन् । ‘पब्लिक’ भएर खेल्न गाह्रो भए पनि आफ्नो पढाइलाई अगाडि बढाउन त्यही बाटो अंगालेको उनले सुनाइन् ।
धादिङको ज्वालामुखी गाउँपालिका सुनखानीकी २६ वर्षीया यी धाविकाले पब्लिक हेल्थ विषयबाट स्नातक गरेकी छन् । ‘खेल र पढाइ सँगै लैजानुपर्छ भन्ने सोच छ । त्यही भएर पब्लिक भएर खेलिरहेकी हुँ । साग गेम्ससम्म त राम्रो गरूँ भन्ने थियो । त्यसपछि पढाइ अगाडि बढाउन दौड छोड्छु भन्ने थियो । तर यो सफलताले फेरि मलाई यतैतर्फ डोर्‍याउने छ,’ उनले भनिन्, ‘सबैको जीवनमा स्ट्रगल त हुन्छ । त्यसैबाट केही गर्न सकिन्छ भनेर अगाडि बढ्ने हो । केन्याका खेलाडीले पनि सफलता पाएको चर्चा हुन्छ तर उनीहरूको जीवनमा पनि कति स्ट्रगल छ ।’
उनले सफलताको श्रेय भने रघुराज वन्तलाई दिए । सन्तोषी एथलेटिक्सका पूर्वराष्ट्रिय प्रशिक्षक वन्तको छहारीमा हुर्केकी खेलाडी हुन् । १३ वर्षकै उमेरमा दौडन थालेकी सन्तोषीले भनिन्, ‘मलाई गुरु हजुरबुवा (नाताले वन्त हजुरबुवा पर्ने) ले दौडाउन सिकाउनुभयो । उहाँकै रेखदेखमा म यहाँसम्म आइपुगें । म यो जितको श्रेय उहाँलाई नै दिन्छु ।’ परिवार, विशेषतः दाइ (केदार श्रेष्ठ) अनि मुख्य प्रशिक्षक चन्द्र गुरुङ, टिमका साथीहरूको हौसला र प्रेरणाले पनि आफूलाई जित्न उत्साह थपेको उनले सुनाइन् । ‘पहिला दिदी, दाइहरूले पनि राम्रो गर्नुभएको हो । उहाँहरूको बाटो पछ्याएकी हुँ । म भाग्यमानी भएँ । पहिलो स्वर्ण मेरो नाममा लेखियो । फरक त्यति हो,’ सन्तोषीले भनिन्, ‘आफूलाई माया गर्ने र सहयोग गर्नेहरूका लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो ।
त्यसले पनि ऊर्जा दियो ।’

मुख्य पृष्ठ

प्रत्यारोपण कम्तीमा दुई महिनापछि

- कान्तिपुर संवाददाता
‘कमजोर मिर्गौलाले शल्यक्रिया, संक्रमण आदि जटिलता झेलेकाले नियमित डायलसिसमा जानुपर्ने हुन सक्छ’

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिना पछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको चिकित्सकले बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ निको हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने ।
एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो । स्वास्थ्यमा निरन्तर राम्रो सुधार भए दुईदेखि चार महिनापछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सकिने डा. काफ्लेको भनाइ छ । यसअघि गत शुक्रबार प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा हतार गर्नुपर्ने अवस्था नरहेको बताएकी थिइन् । अनुकूल समय पारेर प्रत्यारोपण गरिने उनको भनाइ थियो ।
मिर्गौला प्रत्यारोपणका क्रममा अर्को मिर्गौला राख्न सक्ने ठाउँ ठीक हुनुपर्ने डा. काफ्ले बताउँछन् । ‘पेटको संक्रमणले प्रधानमन्त्रीको आन्द्रा वरिपरिको झिल्लीमा कस्तो प्रभाव पारेको छ,’ उनले भने, ‘त्यसले शल्यक्रियाको जटिलतासमेत निर्धारण गर्छ ।’ पछिल्लो समय चिकित्सकले छिटोछिटो डायलसिस गरिरहेका छन् । आइतबारसम्म ६ दिनमा ४ पटक डायलसिस गरेका थिए । प्रधानमन्त्री ग्रान्डी हस्पिटलमा रहेका बेला भने २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो ।
जटिल शल्यक्रिया, संक्रमण, शरीरमा फोहोर बढी जम्मा हुनु आदि कारणले प्रधानमन्त्रीको मिर्गौलामा परेको भार घटाउन डायलसिस गरिरहनुपरेको चिकित्सकको भनाइ छ । ‘अहिलेको जटिल शारीरिक समस्याले मिर्गौला कमजोर नपारेको भए फाट्टफुट्ट गरिएको डायलसिसले काम गर्थ्यो,’ डा. काफ्लेले भने ।
पछिल्लो शल्यक्रिया गर्नुअघिकै अवस्थामा प्रधानमन्त्रीको मिर्गौला रहिरहेमा डायलसिसको संख्या घटाउन सकिने डाक्टरहरू बताउँछन् । अन्यथा निरन्तर डायलसिसमा जानुपर्ने स्थिति आउने उनीहरूको भनाइ छ ।
पत्रकार सम्मेलनमा गत शुक्रबार डा. रमेशसिंह भण्डारीले प्रधानमन्त्री अस्पताल आउँदा धेरै बिरामी रहेको र शल्यक्रियापछि संक्रमणको असर पेट र रगतमा समेत परेको बताएका थिए । तर पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा बढी राम्रो सुधार देखिएको उनको भनाइ छ ।

मुख्य पृष्ठ

मोडिन नसक्दा जिप खस्यो, १४ को मृत्यु

- कान्तिपुर संवाददाता

बागलुङ (कास)– कुलपूजाका लागि हिँडेका यात्रुले खचाखच जिप घुम्तीमा मोडिन नसकी खोलामा खस्दा १४ जनाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकाको देवीस्थानतर्फ जाँदै गरेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भीमगिठेमा मंगलबार बिहान खसेको हो । सडक छेउमा गाडिएका ४ पिल्लर भाँचेर जिप दुई सय मिटर तल खसेको थियो । एक यात्रुलाई खोलाले बगाएको छ भने ३ जना घाइते छन् ।
प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईका अनुसार १८ यात्रु रहेको जिप बढी भार, तीव्र गति र स्टेयरिङको खराबीका कारण दुर्घटनामा परेको अनुमान छ । धेरै यात्रु चढाएको देखेपछि बडिगाड–४ स्थित खार प्रहरी चौकीले जिप रोकेर ८ जनालाई झारेको थियो ।
‘उनीहरू हिँडेको १० मिनेटमै जिप खोलामा खसेको खबर आयो,’ स्थानीय कमल पौडेलले भने, ‘प्रहरीको सक्रियताले थप ८ जनाको ज्यान बच्यो ।’ मृतकमध्ये ९ महिला, ४ पुरुष र एक बालिका छन् । मृत्यु भएकामा इस्मा गाउँपालिका–४ की ३० वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, उनकी २ वर्षीया छोरी अनुशा, ६५ वर्षीय झवि कार्की, २५ वर्षीया मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की छन् ।
यस्तै बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसी, इस्मा–५ की वसुन्धरा कार्की, इस्मा–३ की २३ वर्षीया माया थापा, पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुमा कार्की र सीता कार्कीको पनि मृत्यु भएको छ ।

कञ्चनपुरका ५५ वर्षीय धनबहादुर कार्की, इस्मा–४ का २५ वर्षीय चालक रेशम थापा र इस्मा–४ कै ४० वर्षीय महेन्द्र कार्कीको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, इस्माका ८ वर्षीय हिमाल कार्की र २४ वर्षीय रेशमा कार्की घाइते भएका छन् । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । बडिगाडमै उनीहरूको प्राथमिक उपचार गराइएको थियो । बडिगाड खोलाले बगाएर १५ वर्षीय धनबहादुर कार्की बेपत्ता भएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । मृतक सबैको पोस्टमार्टम गरेर परिवारले मंगलबारै शव बुझिसकेका छन् ।
दुर्घटनालगत्तै उद्धारका लागि घटनास्थलमा पुगे पनि अधिकांशको मृत्यु भइसकेको प्रत्यक्षदर्शीले बताए । जिप उल्टो परेको थियो । ‘भीर र खोलाको खोंचमा जिप फसेकाले शव निकाल्न धेरै गाह्रो भयो,’ उद्धारमा खटिएका स्थानीय दिनेश शर्माले भने, ‘शव क्षतविक्षत थिए ।’ साँघुरो सडकमा धेरै घुम्ती भएकाले चालकले नियन्त्रणमा लिन नसकेको स्थानीयको भनाइ छ । घटनास्थल सदरमुकामदेखि ८० किमि पश्चिममा पर्छ ।

 

Page 2
समाचार

उपनिर्वाचनमा घट्यो बदर मत

२ प्रतिशतमा सीमित
- राजेश मिश्र

(काठमाडौं) - २०६४ यताका तीनवटा निर्वाचनको तुलनामा यसपटकको उपनिर्वाचनमा बदर मतको प्रतिशत आधाभन्दा बढी घटेको छ । विगतका तीनवटा चुनावमा करिब ५ प्रतिशत मत बदर भएको थियो । अहिलेको उपनिर्वाचनमा भने बदर मत २ प्रतिशतभित्र सीमित भएको छ । चुनाव विश्लेषकहरूका अनुसार मत बदर प्रतिशत घट्नु चुनावी गुणस्तरीयता बढेको प्रमाण हो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले बदर मत प्रतिशत २ प्रतिशत भित्र झर्नु अत्यन्त राम्रो भएको बताए । ‘यसले मतदाताको जागरुकता बढेको सन्देश दिएको छ, मतपत्र सानो र छरितो हुनुले मतदातालाई कति सहज बनाउँछ, त्यो पनि देखाएको छ,’ उनले भने ‘अब आगामी निर्वाचनमा पनि यस्तै होस् भन्ने आयोगको प्रयत्न सधैं रहनुपर्छ ।’
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ १.६१ र स्थानीय तहतर्फ १.७० प्रतिशत मत बदर भएका छन् । यसपटक मतपत्र छरितो र मतदातामैत्री भएकाले पनि बदर मतको संख्या घटेको हो । २०७४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.१८ र प्रदेशसभामा ४.२६ प्रतिशत मत बदर भएका थिए । समानुपातिकतर्फ प्रतिनिधिसभामा ९.५३ र प्रदेशसभामा १४.४७ प्रतिशत मत बदर भएका थिए । स्थानीय तह निर्वाचनमा १० प्रतिशत हाराहारीमा मत बदर भएको थियो ।
त्यसअघि २०७० र २०६४ मा भएका संविधानसभा निर्वाचनमा क्रमशः ४.९६ र ५.१५ प्रतिशत मत बदर थिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बदर मत २ प्रतिशतभित्र हुनुले समग्र निर्वाचन प्रणालीका लागि सुखद सन्देश दिएको बताउँछन् । ‘एकजना मतदातालाई मतदान केन्द्रमा ल्याएर मतदान गराउन राज्यको ठूलो खर्च भएको हुन्छ र मत बदर हुँदा लगानीको प्रतिफल शून्य जस्तै हो,’ उनले भने, ‘बदर मत जति कम भयो मतदान गुणस्तरीय मानिन्छ ।’ बदर मत प्रतिशत घट्नुको पहिलो कारण नै मतपत्र छरितो र मतदातामैत्री भएको उनको निष्कर्ष छ ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ स्थानमा उपनिर्वाचन भएको हो । आयोगले त्यति नै प्रकारका मतपत्र तयार गरेको थियो । उम्मेदवारको संख्या कम र मतपत्रमा मतदाताले मतदान गर्नुपर्ने पद एउटै भएपछि मतपत्र सानो र छरितो थियो ।
प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ४६ मत खसेकामा त्यसको १.३२ प्रतिशत मत बदर भएको छ । यसअघि २०७४ मा त्यही क्षेत्रमा ३ प्रतिशत मत बदर भएको थियो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रदेशसभाको निर्वाचन भएको दाङ ३(२) मा १.७६, बागलुङ २(२) मा १.९९ र भक्तपुर १(१) निर्वाचन क्षेत्रमा १.३९ प्रतिशत मत बदर भएका छन् । यसअघि ०७४ मा यी क्षेत्रमा क्रमशः ४.४८, ५.१७ र २.६६ प्रतिशत मत बदर भएका थिए । निर्वाचन भएका क्षेत्रकै तुलना गर्दा दुई वर्षअघिको भन्दा बदर मत आधाभन्दा बढीले घटेको छ । मतपत्र छरितो हुनुबाहेक थोरै स्थानमा भएका चुनावमा राजनीतिक दल र उम्मेदवारका धेरैतिरका कार्यकर्ता सक्रिय हुँदा त्यसले पनि मतदातालाई सचेत बनाउन सघाएको प्रमुख आयुक्त थपलियाले बताए । मतदाता शिक्षा पनि प्रभावकारी भएको आयोगको दाबी छ ।
२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता धेरै भएकाले मतपत्र पनि ठूला थिए । त्यसपछि एकजना मतदाताले एकैसाथ तीनवटा मतपत्र पाएर मतदान गर्नुपरेको थियो । सर्वोच्चको आदेशपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अलग अलग छापिए पनि बदर प्रतिशत अपेक्षित रूपमा घट्न सकेको थिएन ।
स्थानीय तहको मतपत्र थप झन्झटिलो थियो । उम्मेदवारीको मनोनयनपूर्व नै छापिएका मतपत्रमा उम्मेदवारी नदिएका राजनीतिक दलको चुनाव चिह्नसमेत छापिएर मतपत्रमा चिह्नहरू धेरै थिए । मतपत्र ठूलो र भद्दा नै थियो । त्यसमाथि एउटै मतपत्रबाट सात पदका लागि चुनाव हुँदा त्यो छरितो थिएन ।
उपनिर्वाचनमा स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिकामा २.०८, पाँचथरको फाल्गुनन्द गाउँपालिकामा १.६६, संखुवासभाको मकालु गाउँपालिकामा २.१७ र महोत्तरीको पिपरा गाउँपालिकामा २.०९ प्रतिशत मत बदर भएको छ । उपाध्यक्षको चुनाव भएको हुम्लाको खार्पुनाथ गाउँपालिकामा ०.७० प्रतिशत मत बदर भयो । यसअघि सबैतिर १० प्रतिशत हारहारीमा मत बदर भएको थियो । यसपटक सबैभन्दा बढी बैतडीको पुर्चौडी गाउँपालिकाको वडा नम्बर ४ मा ५.६३ प्रतिशत र सबैभन्दा कम अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा ०.४ प्रतिशत मत बदर भएका छन् ।

 

समाचार

गुप्तचरमा 'छड्के भर्ना' प्रस्ताव

२० प्रतिशत सहायक सूचक र १० प्रतिशत सहायक अनुसन्धान अधिकृत बिनाप्रतिस्पर्धा भर्ना गर्न पाउने गरी तयार पारिएको विधेयक संसद् सचिवालयमा
- मातृका दाहाल

(काठमाडौं) - सर्वोच्च अदालतले अनुपयुक्त भन्दै ६ वर्षअघि खारेज गरेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को ‘छड्के भर्ना’ सम्बन्धी प्रावधान सरकारले ब्युँत्याउन लागेको छ । रिक्त पदमा सहायक सूचक (सिपाही) मा २० प्रतिशत र सहायक अनुसन्धान अधिकृत (असई) मा १० प्रतिशत दरबन्दी आन्तरिक कार्यविधि बनाएर प्रतियोगिताबिनै ‘छड्के भर्ना’ गर्न सक्ने प्रावधान राखेर सरकारले ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसद्मा दर्ता गराएको छ ।
प्रतिस्पर्धाबिना कर्मचारी भर्ना गर्न नहुने अदालतको परमादेशविपरीत सरकारले गुप्तचरी क्षमतालाई प्रभावकारी बनाउन भन्दै खारेज भइसकेको प्रावधान ब्युँत्याउन लागेको हो । ताप्लेजुङका यज्ञमणि न्यौपानेले ०६६ सालमा दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले ०७० भदौमा बिनाप्रतिस्पर्धा हुँदै आएको राअविको ‘छड्के भर्ना’ सम्बन्धी प्रावधान खारेज गरेको थियो । इजलासले लोकसेवाको परामर्शमा मात्रै कर्मचारी पदपूर्ति गर्न परमादेश दिएको थियो । उक्त परमादेशसमेतलाई ख्याल गर्दै संविधानमा लोकसेवा आयोगको परामर्शबिना सरकारी कर्मचारी भर्ना गर्न नपाइने व्यवस्था छ । प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, विभागका उच्च अधिकारीले छड्के भर्नाका नाममा आसेपासेलाई गुप्तचरमा नियुक्ति दिने गरेको आरोप
लागेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संसद् सचिवालयमा पेस गरिएको विधेयकको दफा १४ मा ‘सहायक सूचक (सिपाही) पदको हकमा २० प्रतिशत र अनुसन्धान सहायकको हकमा खुला प्रतियोगिताबाट पूर्ति हुने भनी
छुट्याइएको पद संख्यालाई सतप्रतिशत मानी सोको १० प्रतिशत संख्या विभागले कार्यविधि बनाई ‘आवरणयुक्त कर्मचारी’ नियुक्ति गरी पदपूर्ति गर्न सक्ने’ उल्लेख छ । बिनाप्रतिस्पर्धा भर्ना गर्न पाउने गरी तयार पारिएको यो विधेयक गत कात्तिकमा संसद् सचिवालयमा दर्ता भएको हो । छड्के भर्नाबाट नियुक्ति पाएकाको हकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति पाएकालाई लगाइएका बन्देज र सर्त लागू नहुने पनि व्यवस्था गरिएको छ । दल, सञ्चारमाध्यम, उद्योगी/व्यवसायी, सर्वसाधारणलगायत विभिन्न पेसा/व्यवसायमा आबद्ध सरह नै छड्के भर्ना पाएकाले सुविधा लिन सक्ने व्यवस्था विधेयकमा छ ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीले गुप्तचरी क्षमतालाई प्रभावकारी बनाउन सहायक सूचक र सहायक अनुसन्धान अधिकृतको निश्चित प्रतिशत छड्के भर्नाबाट पदपूर्ति गर्न लागिएको बताए । ‘लोकसेवाबाट पदपूर्ति भएर आएका कर्मचारी कतिपय सूचना संकलनमा ‘अनफिट’ हुन सक्छन्, त्यसैले छड्के भर्नाको प्रस्ताव गरिएको हो,’ उनले भने, ‘आन्तरिक तथा बाह्य मामिलासम्बन्धी सूचनामा आधिकारिक च्यानल वा औपचारिक प्रक्रियाबाट भर्ना भएका कर्मचारीको पहुँच नहुन सक्छ ।’
लोकसेवाका पूर्वसदस्य तथा पूर्वगृहसचिव गोविन्द कुसुमले छड्के भर्नाको व्यवस्था आवश्यक भएपनि त्यसलाई सदुपयोग गर्नुपर्ने बताए । ‘दलका कार्यकर्ता तथा आसेपासेलाई गुप्तचरमा जागिर दिने प्रवृत्तिले छड्के भर्ना विवादित र बदनाम बनेको हो,’ उनले कान्तिपुरसँग भने, ‘तर छड्के भर्ना आवश्यक छ, क्षमता, पहुँच र आवश्यक परेको सूचना ल्याउन सक्नेलाई आन्तरिक कार्यविधि बनाएर परिचालन गर्दा देशका लागि फाइदा हुन्छ ।’

समाचार

करार कर्मचारी लिने सहमति

- कान्तिपुर संवाददाता

(काठमाडौं) - संघीय निजामती सेवा विधेयकमा विशेष परिस्थतिमा स्वास्थ्य सेवाका लागि आवश्यक प्राविधिक कर्मचारी करार सेवामा नियुक्ति गर्न सकिने व्यवस्था राखिने भएको छ । विधेयकमा निजामतीका अरू सबै समूहमा करार सेवा अन्त्य गर्ने प्रावधान राखिए पनि नागरिकको बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा भने खुकुलो व्यवस्था गर्न लागिएको हो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार विधेयकमाथि भएको छलफलमा सांसदहरूले चिकित्सकलगायत प्राविधिक कर्मचारीको अभावमा स्वास्थ्य सेवा प्रभावकारी हुन नसक्ने भन्दै करारमा नियुक्त गर्न सक्ने प्रावधान राख्ने सहमति गरे ।
लोकसेवा आयोगमा कर्मचारी भर्नाको अनुमति मागेको अवस्थामा पनि पदपूर्ति हुन नसकेको परिस्थितिमा मात्र यस्तो नियुक्ति गर्न पाइने प्रावधानमा सहमति जुटेको छ । हालको बेथिति दोहोरिन सक्ने भन्दै कानुन उल्लंघन गरेमा अस्थायी वा करारमा भर्ना गर्ने कार्यालय प्रमुखले खाइपाई आएको तलबभत्ता फिर्ताको कारबाही गर्न सकिने प्रावधानसमेत राखिएको छ । यस्तो तलबभत्ता करार कर्मचारी नियुक्त गर्ने कार्यालय प्रमुखबाट सरकारी बाँकीसरह असुलिनेछ ।
सहमतिअनुसार दरबन्दी खाली भए पनि लोकसेवा आयोगले पदपूर्ति नगरेको अवधिलाई मात्र नयाँ नियुक्ति गर्न पाइनेछ । कानुन बनेपछि करारमा कर्मचारी राख्दा पनि आयोगसँग भएका वैकल्पिक उम्मेदवारलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्ता उम्मेदवार नभए मात्र नयाँ नियुक्ति गर्न पाइनेछ । अहिले लोक सेवालाई पद रिक्त भएको र भर्ना नगरी नहुने व्यहोराको जानकारी नै नदिई लामो समयसम्म करारमा राख्ने प्रवृत्ति छ । दरबन्दी रिक्त भएको अवस्थामा पनि कर्मचारी अभाव नहोस् भनेर नयाँ व्यवस्था उचित हुने सांसदहरूको तर्क छ । स्वास्थ्यमा काम गर्ने प्रशासनतर्फका कर्मचारीको दरबन्दीमा भने करारमा राख्न पाइने छैन ।
अहेव र हेल्थ असिस्टेन्टमा भने करारमा राख्न नपाउने व्यवस्था गरिएको छ । विशेषतः चिकित्सक, ल्याब टेक्निसियन, नर्सलगायत पदमा भने कारारमा नियुक्ति गर्न पाइनेछ । लोकसेवा आयोगबाट सिफारिस भई नआएसम्म करारका कर्मचारीको सेवा अवधि थप गर्न सकिनेछ । आयोगबाट अर्को व्यक्ति आएमा भने करार अवधि स्वतः खारेज भएको मानिनेछ । छोटो समयका लागि भए पनि प्राविधिक कर्मचारी राख्दा स्वास्थ्य सेवाको प्रवाह सहज हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले बताए ।


नकारात्मक सूचीको व्यवस्था
सामान्य र गम्भीर सबै प्रकारका गल्ती गर्ने निजामती कर्मचारीको नाम नकारात्मक सूचीमा राखिने भएको छ । यस्तो सूचीमा नाम रहेका कर्मचारीले १ वर्षसम्म बढुवा, विदेश भ्रमण, तालिमलगायत अवसर पाउनेछैनन् ।
कार्यसम्पादन मूल्यांकनमा तोकिएको अंक नल्याउने, सेवाग्राहीमाथि अनुदार व्यवहार गर्ने, विभागीय वा गम्भीर प्रकृतिका गल्ती गरेकोलगायत सबै विषयको जानकारीसहित त्यस्ता कर्मचारीको नाम नकारात्मक सूचीमा रूपमा राख्ने व्यवस्था विधेयकमा गरिएको छ । यसअनुसार अब कुनै कर्मचारीले अदालतबाट सफाइ पाए पनि बढुवा वा अन्य कुनै अवसर पाउन १ वर्ष कुर्नुपर्नेछ । गल्ती गर्ने कर्मचारीले तत्काल अवसर पाउने प्रवृत्ति रोक्न यस्तो प्रावधान ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले बताए । समितिको बैठकले निजामती कर्मचारीको आचरण र कार्यसम्पादन चित्तबुझ्दो नभए १० दिनसम्मको तलब कट्टा गर्न सकिने प्रावधानमा सहमति गरेको छ ।

 

समाचार

छाउ बसेकी किशोरी हराइन्

- आश गुरुङ
सुन्दरबजार नगरपालिका–८ बलिथुमकी १३ वर्षीया सरिता परियार । तस्बिर ः कान्तिपुर

(लमजुङ) - रजस्वलाका बेला छाउ बार्ने चलन कर्णाली र सुदूरपश्चिममा मात्र होइन, गण्डकी प्रदेशमा पनि छ । मुख लुकाउनुपर्ने, अरूसँग बोल्न, छोइन नहुने, आफ्नो घरधुरी अनि दाजुभाइ देख्न नहुने भन्दै रजस्वला हुँदा किशोरीलाई कोठाभित्र राख्ने चलन यहाँका केही गाउँमा छ ।
पहिले छुट्टै ‘कटेरो’ बनाई राख्ने गरिएको थियो । अहिले छिमेकमा लुकाइन्छ ।
सुन्दरबजार नगरपालिका–८ बलिथुमकी १३ वर्षीया सरिता परियार मंसिर १० गते पहिलोपटक रजस्वला भइन् । उनकी आमा शर्मिलाले पैदल १५ मिनेटमा पुगिने आशिका परियारको घर पुर्‍याइन् । साँझबिहान उनी आफैंले छोरीको खाना पुर्‍याउँथिन् । १३ गते बिहान खाना पुर्‍याउँदा छोरी छिमेकीको कोठामै थिइन् । साँझ भने भेटिइनन् । आशिका पनि घरमा थिइनन् । ‘आशिकाले मेरी छोरी लिई हिँडिछे । यतिका दिन भयो, अहिलेसम्म पत्तो छैन,’ शर्मिलाले भनिन् ।
आशिकाको घरमा हजुरआमा र दुई बहिनीबाहेक अरू नरहेको शर्मिला बताउँछिन् । उनका बुबाआमा चितवन छन् । ‘मैले पनि रजस्वला बारेरै आएकी हुँ । यसरी बार्ने चलन अझै छ । आफन्तको घरमा लगेर राखियो । तर छोरी हराई,’ उनले बिलौना गरिन् ।
आफू घरमा नभएका बेला छोरीलाई लुकाइएको सरिताका बुबा प्रकाश परियारले बताए । ‘चलन नमानौं पनि नहुने,’ उनले भने, ‘चलन नमानेको भए छोरीलाई न अरूको घरमा लुकाउनुपर्थ्यो, न छोरी नै हराउँथी ।’
बलिथुमकै भारती सदन माविमा कक्षा ७ की छात्रा सरिता १० गतेदेखि स्कुल नआएको प्रधानाध्यापक ज्ञानबहादुर कार्कीले जानकारी दिए । ‘स्कुल नआउनुको कारण सोध्दा महिनावारी भएर भन्ने बुझियो,’ उनले भने, ‘यहाँका अरू बालिका तथा किशोरी पनि महिनावारीका बेला स्कुल आउन्नन् ।’ आफूहरूले जति सम्झाए पनि चलन हो भनेर कसैले नमानेको उनको भनाइ छ ।
स्थानीयका अनुसार १६ वर्षीया आशिका यसअघि पनि समयसमयमा ४/५ दिन हराइरहन्थिन् । ‘कसैले भोटेओडार, कसैले तनहुँको तुरतुरेमा देखेको भन्छन् । फर्केर आउलान् भनेर बस्यौं, तर फर्केनन्,’ शर्मिलाले भनिन् । हराएकी छोरी खोजिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय भोटेओडारमा मंगलबार निवेदन दिइएको उनले जानकारी दिइन् ।
मुलुकी अपराध संहिताअनुसार छाउपडी अपराध हो । महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

समाचार

सामाजिक सुधार ऐन परिमार्जन गर्न सुझाव

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– सामाजिक (व्यवहार) सुधार ऐन, २०३३ लागू नभएको र गराउन पनि नसकेको भन्दै गृह मन्त्रालयले समयानुकूल परिवर्तनमा जोड दिएको छ । चार दशक पुरानो उक्त ऐन कार्यान्वयनको अवस्था, चुनौती र थप सुधारका लागि के गर्न गर्न सकिन्छ भन्नेबारे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोधेपछि मन्त्रालयले सुझाव पठाएको हो ।
‘सामाजिक अवस्थासँग मिल्दोजुल्दो हुनेगरी ऐननियमलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ,’ गृहले समितिलाई पठाएको रायमा उल्लेख छ, ‘विवाहमा ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न हुँदैन भन्ने व्यवस्था पूर्णरूपमा कार्यान्वयन भएको छैन ।’ कानुन भएर पनि लागू नहुनु भनेको कानुनी शासन नहुनु हो भन्दै विधायन समितिले त्यसको पुनरावलोकनका लागि गृहसँग कार्यान्वयन अवस्था र सुधारका लागि के गर्न सकिन्छ भनेर मंसिर ५ मा सुझाव मागेको थियो ।
विवाहमा तिलक, दाइजो लिएको वा मागिएकोबारे उजुरी पनि नपरेको र त्यसलाई कार्यान्वयन गर्न कठिन भएको समेत गृहले औंल्याएको छ । ‘तिलक सम्बन्धमा विवाहमा दुवै पक्षले गोप्य रूपमा छिनोफानो गरी विभिन्न सर्त राखी विवाह सम्पन्न गर्ने हुँदा सो सम्बन्धमा बाहिर जानकारी आउने गरेको छैन,’ गृहले आफ्नो रायमा भनेको छ, ‘विवाहमा दाइजो लिएको वा माग गरिएको विषयमा हालसम्म लिखित उजुरी तथा गुनासो प्राप्त भएको छैन ।’
उक्त ऐनमा विवाह भोजमा ५१ जनाभन्दा बढीलाई बोलाउन नपाइने र भड्किलो रूपमा बत्ती बाली घर सजाउन नपाइने उल्लेख छ । उक्त ऐनमै छैठी, न्वारान, जन्म दिवस, पास्नी, चूडाकर्म र व्रतबन्ध आदिमा नातेदारबाहेक २५ जनाभन्दा बढीलाई बोलाउन नपाइने पनि भएिको छ । काजकिरिया, श्राद्ध वा अन्य कार्यमा नातेदार र मलामीबाहेक २५ जनाभन्दा बढीलाई बोलाउन नपाउने प्रावधान ऐनमा छ ।
२०३३ मा जारी उक्त ऐनमा विवाहमा बाजागाजासहित ५१ जना जन्ती लैजान नपाउने, जन्तमा ११ जनाभन्दा बढी बाजावाल राख्न नपाइने, भाडावाल नाच लैजान नपाइने र विवाहमा आतिसबाजी गर्न नपाउने भन्ने पनि छ । उल्लंघन गर्नेलाई १० हजारसम्म जरिवाना वा १५ दिनसम्म कैद वा दुवै सजाय हुने उक्त ऐनमा छ ।
विधायन समितिले उक्त ऐनको कार्यान्वयन मापन तथा अध्ययन, अनुसन्धान गर्न आगामी शुक्रबार विज्ञहरू बोलाएर कार्यशाला गर्दै छ । उक्त ऐनको सांस्कृतिक, कानुनी, आर्थिक, राजनीतिक, दार्शनिक र सामाजिक पक्षबारे विज्ञहरूसँग परामर्श गर्ने समितिको कार्यक्रम छ ।

 

Page 3
समाचार

न्यायपरिषद्मा कानुनमन्त्रीको आपत्ति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– न्यायाधीशले अवकाश नपाउँदै रिक्त हुन लागेका पदका लागि गरिएको सिफारिसप्रति न्यायपरिषद्का सदस्य एवं नवनियुक्त कानुनमन्त्री उपेन्द्र यादवले आपत्ति जनाएका छन् । कानुन मन्त्रालयको नेतृत्व उनले सम्हालेपछि पहिलो पटक बुधबार बसेको न्यायपरिषद् बैठकमा यादवले यसअघिका दुई न्यायाधीशको नाम सिफारिसको कानुनी धरातलमाथि प्रश्न उठाएका हुन् ।
न्यायपरिषद्ले मंसिर ४ मा विभिन्न उच्च अदालतका लागि १५ न्यायाधीशको नाम सिफारिस गर्ने क्रममा अवकाश नै नभएका तीन न्यायाधीशका ठाउँमा नयाँ नियुक्तिको सिफारिस गरेको थियो । भोजपुरका देशबहादुर सार्की, सुनसरीकी रेखा थापा पाण्डे र सप्तरीकी किरणकुमारी गुप्ता मंसिरको १५, १६ र २१ देखि लागू हुने गरी सिफारिस भएका थिए । परिषद् स्रोतका अनुसार कानुनमन्त्री यादवले पद नै रिक्त नभई सिफारिस गर्न हतारो गरेको’ भन्दै आपत्ति जनाएका हुन् । उनले यस्ता निर्णय हुन नहुने भन्दै परिषद्को अध्यक्षता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ध्यानाकर्षण गराएका थिए । बैठकले गेहेन्द्रराज पन्त, विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा, मनकुमारी विक र रिताकुमारी बख्रेल जिल्ला न्यायाधीशलाई सिफारिस गरेको छ ।

समाचार

शरणार्थीद्वारा प्रदर्शन

- कान्तिपुर संवाददाता

दमक (कास)– भुटानी शरणार्थीको राष्ट्रिय पुनर्मिलन समितिले स्वदेश फिर्तीको माग गर्दै शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) को दमकस्थित कार्यालय अगाडि मंगलबार प्रदर्शन गरेको छ । प्रदर्शनका सहभागीले तीन दशकदेखि नेपाली भूमिमा शरणार्थी भएर बस्नुपर्दा आफूहरूको जीवन कष्टप्रद बनेको बताए ।
स्वदेश फिर्तीका लागि वर्षौंदेखि आन्दोलन गरे पनि सरोकारवाला राष्ट्र र निकायले सुनुवाइ नगरेको समेत उनीहरूले गुनासो गरेका छन् । समितिले यूएनएचसीआर दमक शाखाका प्रमुख खालिद फान्सामार्फत राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई ज्ञापनपत्रसमेत पठाएको छ ।

समाचार

अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री

- बिनु सुवेदी

(काठमाडौं) - उपप्रधानमन्त्री उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्याबाट कानुन मन्त्रालयमा सरुवा हुँदा भारत थिए । सरुवाको पर्सिपल्ट अर्थात् गत मंसिर ६ गते फर्किएका यादव ९ गतेबाट मात्रै नयाँ मन्त्रालय गए । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत चौमासिक समीक्षा बैठक राखेका थिए । नयाँ मन्त्रालयबारे आफूलाई केही थाहा नभएको बताउँदै यादव बैठकमा उपस्थित भएनन् । ९ गते राति प्रधानमन्त्री ओली बिरामी परे । उनी १० गतेदेखि अस्पतालमा छन् । यता यादवले कतिपय जरुरी विषयमा प्रधानमन्त्रीसँग सरसल्लाह गर्न नपाएको बताएका छन् । ‘म यो मन्त्रालयमा आएपछि प्रधानमन्त्रीज्यूसँग एकपटक पनि भेट हुन पाएन, समन्वय गर्नुपर्ने कुरा थिए, धेरै विषयमा सरसल्लाह गर्नुपर्ने छ,’ मन्त्री यादवले कान्तिपुरसँग भने, ‘तर बिरामी मान्छेलाई दुःख दिनु भएन ।’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङले पनि प्रधानमन्त्रीसँग यथेष्ट सरसल्लाह गर्न पाएका छैनन् । ‘समीक्षा बैठकमा प्रधानमन्त्रीज्यूले दिएको लामो निर्देशन र उहाँको गाइडलाइनअनुसार नै वार्षिक कार्यक्रम बनाउने, विधेयकबारे छलफल गर्ने र कार्यविधि बनाउने गरेका छौं,’ उनले भने, ‘आवश्यक विषयमा प्रधानमन्त्रीज्यूको सचिवालयसँग छलफल भइरहेको छ । अलि अप्ठेरो परिस्थिति आइहाले पनि सम्बोधन भइहाल्छ ।’
गत ९ गतेको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरूलाई आफ्नो मन्त्रालय राम्रोसँग बुझेर कार्ययोजना बनाउन र पुराना मन्त्रीहरूलाई मन्त्रालयमा दह्रो पकड बनाउन निर्देशन दिएका थिए । उनले योजनाअनुसार काम किन भइरहेको छैन भन्ने विषयमा सबै मन्त्रीहरूसँग एक्लाएक्लै पनि छलफल गर्ने बताएका थिए । लगत्तै बिरामी भएपछि प्रधानमन्त्री ओलीको त्यो योजना कार्यान्वयन हुन सकेको छैन । साप्ताहिक रूपमा बस्दै आएको मन्त्रिपरिषद् बैठकसमेत यो साता भएन ।
प्रधानमन्त्री बिरामी भएकै कारण सरकारले गर्नैपर्ने काम भने नरोकिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । ‘सरकारको काम चलिरहेको छ, प्रधानमन्त्रीज्यूले हस्ताक्षर नै गर्नुपर्ने काम तत्काल केही छैनन्,’ उनले भने, ‘आवश्यक विषयमा सचिवालय र सल्लाहकारमार्फत समन्वय भइरहेको छ ।’ उनले मन्त्रीहरूको तहमा गर्नुपर्ने संयोजन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रशासनिक तहमा गर्नुपर्ने समन्वय मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । पछिल्लो पटक पोखरेलले दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहलाई सम्बोधन गरे । निर्धारित कार्यतालिकामा प्रधानमन्त्रीले सागलाई सम्बोधन गर्ने उल्लेख थियो । प्रधानमन्त्री ओलीले भने अस्पतालको आईसीयूबाटै समारोहको उद्घाटन हेरेका थिए । प्रधानमन्त्रीको सचिवालयले सरकारको काम रोकिने स्थिति नआएको दाबी गरेको छ । ‘मानवीय संवेदनाका कुरा पनि आउलान्, उहाँ अहिले बिरामी हुनुहुन्छ,’ रिमालले भने, ‘एक साताभित्र कुनै पनि दिन उहाँ डिस्चार्ज हुनुहुन्छ, काम निरन्तर भइहाल्छ ।’
प्रधानमन्त्री ओलीले पछिल्लोपटक अस्पताल भर्ना हुनुअघि सरकार पुनर्गठन र पार्टीका मिलाउनैपर्ने कतिपय विवाद टुंग्याएका थिए । तर संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा पदपूर्ति तथा विधेयक तयार, संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति, भारतीय पक्षबाट अतिक्रमणमा परेको कालापानी क्षेत्रको समस्या समाधानका लागि लिनुपर्ने पहलकदमी ओलीले तत्काल गर्नुपर्ने काम हुन् ।
सचिवालय बैठक आह्वान
स्पष्ट कार्यविभाजनपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भेट अस्पतालमा मात्रै भयो । सरकार ओली र दल दाहालले सम्हाल्ने गरी काम बाँडफाँट भएलगत्तै दाहाल चुनावी दौडाहामा जिल्ला निस्किएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीसँग अस्पतालमा भएको भेटमा भएको सामान्य सल्लाहअनुसार दाहालले बुधबार बिहान ९ बजेका लागि पार्टी सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बस्नेछ । यो बैठक दाहालले कार्यकारी भूमिका पाएपछिको पहिलो बैठक हुनेछ । ‘प्रधानमन्त्रीको स्वास्थ्यका कारण भेटघाट हुन नपाएपछि छलफल रोकिने भयो, अहिले हाम्रो सम्पूर्ण ध्यान उहाँको स्वास्थ्यमा केन्द्रित छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुध्रिँदै गएपछि अर्का अध्यक्ष दाहालले सामान्य रूपमा छलफल गर्नुभयो र दुई अध्यक्षको परामर्शमा सचिवालयको अनौपचारिक बैठक बोलाइएको छ ।’
प्रवक्ता श्रेष्ठले बुधबारको बैठकपछि सचिवालयका अरू बैठक, स्थायी समिति र केन्द्रीय कमिटीको बैठक आह्वान गर्नेबारे छलफल र निर्णय हुने जानकारी दिए । उनका अनुसार अध्यक्ष दाहालले ओलीसँगको परामर्शमा छिट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक आह्वान गर्नेछन् ।
प्रधानमन्त्रीसँग पछिल्लो पटक गत आइतबार करिब १५ मिनेट भेटेका दाहालले उपचुनाव, पार्टी कामबारे आफ्नो योजना र तत्कालका लागि स्थगित भएको चीन भ्रमणबारे छलफल गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि नै दाहालले निर्धारित चीन भ्रमण रोकेका थिए । पार्टीमा कार्यकारी भूमिका पाएलगत्तै दाहालले छिट्टै पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेका थिए । तर ओली बिरामी भएपछि उनले सोचेको समयमा बैठक बोलाउन भने सकेका थिएनन् । उनले पार्टी कामलाई कसरी अघि बढाउने भन्ने विषयमा आन्तरिक छलफल भने तीव्र पारेको स्थायी समिति सदस्य अग्नि सापकोटाले जानकारी दिए । ‘अध्यक्ष दाहालले समग्र पार्टीलाई कसरी व्यवस्थित बनाउने र पार्टी बैठकहरू कहिले कहिले बोलाउने भन्ने विषयमा छलफल गरिरहनुभएको छ,’ सापकोटाले भने, ‘तर कुन कुन तहको बैठक कहिले बोलाउने भन्ने विषय यकिन भइसकेको छैन ।’ दाहालले पार्टीको समग्र कामबारे महासचिव विष्णु पौडेलसँग छलफल गरेर योजना बनाइरहेका छन् ।
नेपाल र खनाल अस्पताल पुगेनन्
प्रधानमन्त्री ओली आठ दिनदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, ओलीकी श्रीमती राधिका शाक्य र सचिवालय तथा सल्लाहकार समूहका सदस्यबाहेक अरूले प्रत्यक्ष भेटेका छैनन् । उनको स्वास्थ्य अवस्थाबारे बुझ्न दैनिक अस्पताल जानेको संख्या भने धेरै छ । सरकारका सबै मन्त्री, नेकपाका नेता कार्यकर्ता, प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेताहरू, सांसद अरू राजनीतिक दलका प्रतिनिधि तथा सरकारी उच्च निकायका अधिकांश पदाधिकारीले अस्पताल पुगेर ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् । उनीहरूले स्वकीय सचिवालयका सदस्य या उपचारमा संलग्न डाक्टहरूमार्फत स्वास्थ्यबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीलाई भेट्न जाने सूचीमा पूर्वप्रधानमन्त्रीद्वय एवं नेकपा सचिवालय सदस्यहरू झलनाथ खनाल र माधवकुमार नेपालको नाम भने छैन । ओली बिरामी भएर अस्पताल भर्ना हुँदा खनाल र नेपाल दुवै विदेश थिए । चीनमा रहेका खनाल १३ गते स्वदेश फर्किए भने टर्कीमा रहेका नेपाल १४ गते काठमाडौं आए । उनीहरू प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न मंगलबार साँझसम्म अस्पताल पुगेका छैनन् । डाक्टरहरूले कसैलाई पनि भेट्न नदिएको खबर पाएकाले भेट्न नगएको प्रतिक्रिया उनीहरूको छ । नेपाल निकट स्रोतले बताएअनुसार प्रधानमन्त्रीलाई नै भेटेर स्वास्थ्यबारे जानकारी लिने योजनामा उनी छन् । खनालले पनि अस्पताल पुगेर प्रधानमन्त्रीलाई भेट्न नपाउने भएपछि आफू नगएको प्रतिक्रिया दिए । कान्तिपुरसँग खनालले भने, ‘डाक्टरले कसैलाई पनि प्रधानमन्त्रीसँग भेट्न नदिएको खबर पाएपछि म नगएको हुँ ।’

समाचार

‘हेलिकप्टर’बाट रतुवाको सिङ तस्करी

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सिम्रिक एयरलाइन्सको हेलिकप्टरमार्फत गोरखाबाट काठमाडौं आएकी एक महिला संरक्षित वन्यजन्तु रतुवाको अंगसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । प्रहरीले हुम्लाको ताजाकोट गाउँपालिका–५ (साविक मदना गाविस–९) की २९ वर्षीया महिला सम्झना बुढालाई रतुवाको सिङसहित विमानस्थलको एक्सरे मेसिन एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।
सिम्रिक एयरले ती महिलालाई गोरखाको घापबाट ल्याएको थियो । विमानस्थल प्रहरी प्रमुख डीआईजी सूर्य उपाध्यायले मंगलबार बिहान ९ः१० मा ती महिलालाई वन्यजन्तुको अंगसहित पक्राउ गरिएको जानकारी दिए । बुढाले बोरामा राखेर वन्यजन्तुको अंग ल्याएकी थिइन् । बरामद सिङ जिल्ला वन कार्यालय काठमाडौंको जिम्मा लगाइएको छ । ‘गृह मन्त्रालय वा नागरिक उड्डयन प्राधिकरण कसले हेलिकप्टरलाई उडान अनुमति दिएको हो र के प्रयोजनका लागि गएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ उपाध्यायले कान्तिपुरसित भने । हेलिकप्टरबाटै संरक्षित वन्यजन्तुको अंग तस्करी हुनु गम्भीर विषय भएको उनले बताए । गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सिम्रिक एयरले मनास्लु संरक्षित क्षेत्रको घापमा उडान गर्न आफूबाट कुनै अनुमति नलिएको बताए । गोरखाका जुनसुकै स्थानमा उडान परे पनि अन्य हेलिकप्टर कम्पनीले उड्नुअघि प्रशासनलाई जानकारी गराउँदै आएको उनले बताए ।
‘मंगलबार बिहान सिम्रिक एयरको हेलिकप्टर मनास्लु संरक्षण क्षेत्रमा पर्ने घापमा गएको रहेछ, यसबारे मैले साँझ मात्रै थाहा पाएँ,’ प्रजिअ लामिछानेले भने, ‘अनुमति नै नलिई गएको हेलिकप्टरबाट संरक्षित वन्यजन्तुका अंग फेला पर्नुले अपराध कुन कुन क्षेत्रबाट हुन्छ भन्ने कुरा थप स्पष्ट पारेको छ ।’
लामिछानेले हेलिकप्टरबाट वन्यजन्तुका अंग तस्करी भएको विषयमा थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकिएको बताए । जिल्ला प्रशासन कार्यालय गोरखाले एक महिनाअघि पनि अनुमति नै नलिई मनास्लु संरक्षित क्षेत्रमा उडान भरेको आरोपमा सिम्रिक एयरलाइन्सलाई कारबाही गर्न गृहलाई पत्र पठाएको थियो । ‘गोरखा जिल्ला प्रशासन कार्यालयबाट सिम्रिक एयरलाइन्सलाई कारबाहीको सिफारिससहित एक महिनाअघि पत्र आएको छ,’ गृह स्रोतले भन्यो, ‘यस विषयमा अनुसन्धान भइरहेको छ ।’

Page 4
Page 5
उपत्यका

काठमाडौं प्रशासनलाई गृहको निर्देशन– डेढ महिनामा प्रतिवेदन बुझाउनू

तीनकुने मुआब्जा विवाद
- कान्तिपुर संवाददाता
काठमाडौंको तीनकुनेस्थित खुला ठाउँ । तत्कालीन सरकारले ०३१ सालदेखि यहाँ पार्क बनाउने योजना बनाए पनि अझै पूरा हुन सकेको छैन । तस्बिर ः कान्तिपुर

(काठमाडौं) - सरकारले तीनकुनेस्थित खाली जग्गाको विवाद सल्टाउन पहल थालेको छ । ५३ रोपनीमध्ये २३ रोपनी २ आना जग्गाको मुआब्जा विवादले सरकारले ०३१ सालदेखि अघि सारेको पार्क बनाउने योजना पूरा हुन सकेको छैन । २५ जना जग्गाधनीले चलनचल्तीको मूल्यअनुसार मुआब्जा पाउनुपर्ने माग गरेपछि विवादको टुंगो नलागेको हो । आधा जग्गाधनीलाई पहिले नै मुआब्जा पाइसकेका छन् । बाँकीलाई चलनचल्तीको मूल्य दिन नसक्ने सरकारको अडान छ ।
मन्त्रिपरिषद्को असोज ३० को बैठकले तीनकुनेमा अधिग्रहण गर्नुपर्ने र मुआब्जा वितरण हुन बाँकी क्षेत्रफलका लागि आवश्यक रकम अर्थ मन्त्रालयबाट व्यवस्थापन गरी असारसम्म सम्पूर्ण काम पूरा गर्ने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरलाई पत्राचार गरिसकेको छ । काठमाडौं प्रशासनलाई तीनकुनेको यकिन क्षेत्रफल, अधिग्रहणपछि मुआब्जा दिने क्षेत्रफल, यसअघि मुआब्जा वितरण गरिएको क्षेत्रफल डेढ महिनाभित्र यकिन गरेर प्रतिवेदन पेस गर्न पत्राचार गरिएको गृह मन्त्रालय स्रोतको भनाइ छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा काठमाडौं महानगरपालिकाले बिरुवा रोप्ने क्रममा जग्गाधनीले विरोध जनाएका थिए । विवाद चाँडै टुंग्याउने आश्वासन दिएपछि मात्रै स्थानीयले सहमति जनाए । स्थानीयलाई दिएको प्रतिबद्धताअनुसार सरकारले विवाद टुंग्याउन मन्त्रिपरिषद्बाटै निर्णय गरेको हो ।
०३१ मा तत्कालीन पञ्चायत सरकारले पञ्चायत स्मारक बनाउन पहिलोपटक तीनकुने अधिग्रहण गर्ने निर्णय गरेको थियो । तर, मुआब्जा विवादे स्थानीले जमिन छोड्न मानेनन् । ०३१ जेठ १४ मा सूचना प्रकाशित गरेर पार्क बनाउन जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरियो । तत्कालीन सरकारले निर्धारण गरेको प्रतिरोपनी चार हजार रुपैयाँ लिन जग्गाधनीहरू मन्जुर नभएपछि विवाद बढ्दै गयो । जग्गाधनीले चलनचल्तीको मूल्य नै माग गरेका थिए । ०४० मा पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मूल्यांकन समितिले प्रतिरोपनी ८० हजार दिन सुझाव दिएको थियो । त्यसबेला पनि जग्गाधनीले मुआब्जा रकम प्रचलित मूल्यको एक चौथाइ पनि नभएको भन्दै लिन मानेनन् । ०५८ मा विवाद मिलाउन नयाँ मूल्यांकन गरी ०६४ देखि मुआब्जा वितरण गरियो । काठमाडौं महानगरपालिकाले पनि ०७३ मा तीनकुनेमा शान्ति मण्डला बनाउने योजना अघि सारेको थियो । जग्गा विवादकै कारण योजना कार्यान्वयन हुन सकेन ।
काठमाडौं महानगरका अनुसार ०६९ कात्तिक २१ सम्म ३६ कित्ताको २१ रोपनी ११ आना २ पैसा १ दामको १० करोड ८० लाख १९ हजार रुपैयाँ मुआब्जा दिइसकिएको छ । एक करोडभन्दा बढी मुआब्जा पाउने दुईजना जग्गाधनी छन् । ०६४ माघ १४ देखि ०६९ कात्तिक २१ सम्म मुआब्जा रकम भुक्तानी गरिएको हो । त्यसअघिको विवरण महानगरसँग पनि छैन । महानगरले ०७३ चैत २८ मा मुआब्जा दाबी गर्न सूचना प्रकाशन गर्दा दुर्गाप्रसाद ढकालसहित २५ जनाले ४९ कित्ताको २३ रोपनी २ आना जग्गाको मुआब्जा माग गर्दै प्रमाण पेस गरेका थिए । मुआब्जा दिनुपर्ने २३ रोपनी २ आना र मुआब्जा दिइसकेको २१ रोपनी ११ गरी ४४ रोपनी १३ आनाको मात्रै हिसाब देखिन्छ ।

उपत्यका

ङातापोलको जीर्णोद्धार सुरु

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– विश्व सम्पदामा सूचीकृत भक्तपुरको ङातापोल (पाँचतले मन्दिर) को जीर्णोद्धार थालिएको छ । भूकम्पको चार वर्षपछि भक्तपुर नगरपालिकाले मन्दिरको जीर्णोद्धार सुरु गरेको हो । भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पुगेको नगरपालिकाका योजना तथा सम्पदा शाखा प्रमुख इन्जिनियर रामगोविन्द श्रेष्ठले बताए । १९९० सालको भूकम्पमा पनि मन्दिरको माथिल्लो तलामै क्षति पुगेको थियो । यसअघि राजा महेन्द्र शाहले ०१९ मा र नगरपालिकाले ०५६ मा जीर्णोद्धार गरेका थिए ।
भक्तपुर नगरको पाँचौं नगरसभाबाट निर्णय गरी ६५ लाख १३ हजार तीन सय ५८ रुपैयाँको लगत इस्टिमेट तयार गरी जीर्णोद्धार थालिएको हो । नगरपालिकाका अनुसार अघिल्लो वर्ष नै मन्दिर जीर्णोद्धार गर्ने निर्णय भए पनि तौमढी क्षेत्रकै भैरवनाथ मन्दिर संरक्षणका कारण एक वर्ष ढिला भएको हो ।
केशव तमखुको अध्यक्षतामा गठित मन्दिर संरक्षण तथा जीर्णोद्धार उपभोक्ता समितिले आउँदो असार मसान्तभित्र सक्ने लक्ष्य राखेको छ । मन्दिरको माथिल्लो तलामात्रै मर्मत गरिने भए पनि खट बाँध्दा बाँकी चारैतलाको छानाको झिँगटी झिक्नुपर्ने भएकाले बढी समय लाग्ने इन्जिनियर श्रेष्ठले बताए । भूकम्पको धक्काले झिँगटी छुट्टिएपछि पानी चुहिने समस्या छ ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार ङातापोल मन्दिर नेपाल संवत् ८२२ मा भूपतीन्द्र मल्लले बनाएका हुन् । १०८ फिट अर्थात् ३३ दशमलव २३ मिटर अग्लो मन्दिर वास्तुतन्त्र विधिअनुरुप बनेको छ । मन्दिरको टुप्पोको गजुर पूर्णताको प्रतीकसमेत मानिन्छ । मन्दिर निर्माण सकेर नेपाल संवत् ८२२ आषाढ सुदि १ मा टुप्पोमा गजुर राखेको प्रमाण फेला परेको श्रेष्ठले बताए ।

उपत्यका

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । राधेराधेबाट सल्लाघारीतर्फ आउने सर्भिस ट्र्याकमा बा३ख २५३१ नम्बरको टिपरले ठक्कर दिँदा उदयपुर चौदण्डीगढी नगरपालिकाका २७ वर्षीय समीर विकको मृत्यु भएको हो । सख्त घाइते विकको उपचारका क्रममा डा.इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए । फरार रहेका चालक काभ्रे महाभारत गाउँपालिका–८ का ३० वर्षीय सिद्विमान तामाङलाई कोटेश्वर तीनकुनेबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यका

अपांगअनुकूल लिफ्ट सञ्चालनमा

- कान्तिपुर संवाददाता

ललितपुर (कास)– ललितपुर महानगरपालिका भवनमा अपांगता भएका व्यक्तिले सहजै लिफ्ट प्रयोग गर्न पाउने भएका छन् । एक हजार किलोग्राम अर्थात् एकचोटिमा १५ जना अटाउने पारदर्शी लिफ्ट मंगलबारदेखि सञ्चालनमा आएको हो । अपांग दिवसको अवसर पारेर भोजराज श्रेष्ठ र अञ्जना लामाले लिफ्टको उद्घाटन गरेका थिए । लामा बौद्धिक अपागंता भएकी किशोरी र श्रेष्ठ ह्वीलचियर प्रयोगकर्ता हुन् ।
कार्यक्रममा मेयर चिरीबाबु महर्जनले महानगरभित्र निर्माण भइरहेका सार्वजनिक संरचना अपागंअनुकूल बन्ने दाबी गरे । ‘फुटपाथ पनि हामीले अपागंमैत्री बनाइरहेका छौं,’ उनले भने, ‘महानगर अपागंता भएकाहरूप्रति संवेदनशील छ ।’
लिफ्टको प्रयोगमा वृद्धवृद्धा, बिरामी र फरक क्षमता भएका मानिसलाई प्राथमिकता दिइए पनि आवश्यक पर्दा सबलांगले पनि प्रयोग गर्न सक्ने महानगरले जनाएको छ । लिफ्ट निर्माणका लागि १ करोड ८ लाख रुपैयाँमा टेन्डर आह्वान गरिएकोमा करिब ८२ लाख ३० हजार रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । मेयरमा निर्वाचित भएका बेला महर्जनले भुइँतलामै आएर अपांगता भएका व्यक्तिहरूलाई भेटेका थिए । अपांगअनुकूल लिफ्ट सञ्चालन गर्ने उनको त्यसबेलाको प्रतिबद्धता अहिले पूरा भएको छ ।

उपत्यका

बूढानीलकण्ठको आफ्नै प्रशासकीय भवन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बूढानीलकण्ठ नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरी सञ्चालनमा ल्याएको छ । ९ करोड ८६ लाख ६१ हजार लागतमा तीन वर्षमा भवन बनाइएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ८ हात्तीगौंडामा तीनतले भवन निर्माण गरिएको हो ।
अब नगरपालिकाको पशुसेवाबाहेक सबै शाखाले यसै भवनबाट एकीकृत सेवा प्रदान गर्नेछन् । अपागंअनुकूल लिफ्ट र र्‍याम्प निर्माण गर्न बाँकी छ भने बाहिरी बगैंचा र भित्री इन्टेरियरको काम भइरहेको छ । भवन उद्घाटनसँगै अब नगरवासीले सर्वसुलभ तरिकाले एकै ठाउँबाट सेवासुविधा पाउने मेयर उद्धव खरेलले बताए । भवनको उद्घाटन रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए ।

उपत्यका

जुवातास खेल्ने सातजना पक्राउ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ६९ हजारसहित सात जनालाई पक्राउ गरेको छ । मकवानपुर घर भई कलंकीमा होटल सञ्चालन गरिरहेका दीपक राउतको खाजाघरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

Page 6
सम्पादकीय

भत्काऔं मनका छाउघरहरू

हाम्रा कतिपय प्रथा र परम्पराले महिलामाथि थोपरेका विभिन्न हिंसामध्येको एउटा डरलाग्दो रूप हो छाउपडी । महिनावारी भएका महिलालाई छाउघर पठाउने सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय जिल्लामा विद्यमान यो कुरीति समकालीन नेपाली समाजकै एउटा ठूलो धब्बा हो । महिला तथा किशोरीप्रति समाजले गर्ने भेदभावपूर्ण व्यवहारको यो नमुना आधुनिक सभ्यताकै लागि चुनौती पनि हो । यसकै कारण सोमबारमात्रै अछाम, साँफेबगरकी २१ वर्षीया पार्वती बुढाले छाउगोठमा निसासिएर ज्यान गुमाइन् ।
‘परम्परा’ का नाममा कुरीति भोग्न अभिशप्त कैयौंको ज्यान वर्षौंदेखि यसैगरी गइरहेको छ । केही महिनाअघि पनि बाजुराको बुढीनन्दा–९, अगाउँपानीमा दुई छोरासहित आमाको मृत्यु भएको थियो । मानवअधिकार आयोगका अनुसार ०६४ देखि ०७४ सम्ममा छाउगोठमा बसेकै कारण १२ जनाले ज्यान गुमाएका थिए, गोठ सफा र सुरक्षित नहुँदा सर्प र जंगली जनावरले टोकेर, हावा नछिर्ने भएकाले निसासिएर, आगलागी भएर र जाडोले कठ्यांग्रिएर ।
अन्य हिसाबले पनि सुरक्षित छैन छाउगोठ । गत वर्ष सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि छाउगोठमै स्थानीय तीन युवाले बलात्कार गरेका थिए । विडम्बना, यस्ता घटना भइरहँदा पनि महिनावारी भएकै कारण आफ्नी छोरी/बुहारी/श्रीमती/आमालाई भ्यान्टिलेसन पनि नभएको सानो र असुरक्षित गोठमा पठाउने कुप्रथा रोकिएको छैन ।
सम्बन्धित समाजको सचेत तप्कालाई पक्कै थाहा छ– महिनावारी जैविक प्रक्रिया हो, यससँग पाप–पुण्यको साइनो छैन । यो कुनै विश्वास, संस्कृति, मूल्यमान्यता, सचेतना, समावेशन, न्याय र मर्यादा होइन, यो त भयंकर अन्धविश्वास, कुरीति, अचेतना, बहिष्करण, विभेद र हिंसा हो । तर बुझेकाहरूले पनि समाजमा सार्थक हस्तक्षेप गर्न नसकेकैले कुप्रथा नरोकिएको हो । भएका प्रयत्नहरू गोष्ठी, सभा, सेमिनारमै सीमित छन् । कसैको ज्यान गएपछि परिवर्तनका लागि देखाइने चासो पनि पछि त्यसै सेलाउने गरेका छन् ।
छाउपडी प्रथाले समाजको विकास प्रक्रियामै असर पुर्‍याएको छ, महिलाको वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक खोसेको छ । उनीहरूको सामाजिक र सांस्कृतिक अधिकारमाथि कुठाराघात गरेको छ, व्यक्तित्व विकासको अवसर खुम्च्याएको छ । आयोगद्वारा गत वर्ष जारी प्रतिवेदनअनुसार महिनावारी भएको महिला शिक्षक तथा विद्यार्थी दुवैलाई ५ दिनसम्म विद्यालय जान, किताब छुन र पठनपाठनमा प्रतिबन्ध लगाइन्छ । यसबाट माध्यमिक तहमा पढ्ने किशोरीहरूको विद्यालय छोड्ने दर बढ्दो छ । महिलालाई तल्लो पेट दुख्ने, पाठेघर खस्ने, कुपोषण, झाडापखाला, निमोनिया, श्वासप्रश्वाससम्बन्धी रोगहरू लागेको छ, मानसिक स्वास्थ्य बिगारेको छ । आर्थिक विकासमा असर पारेको छ ।
छाउपडीलाई कानुनले दण्डनीय नमानेको पनि होइन । मुलुकी अपराध संहिता, २०७४ ले महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । सरकारी कर्मचारीले यस्तो कसुर गरेमा उसलाई थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था छ । संहिता लागू भएको एक वर्ष नाघिसक्दा पनि ज्यानै जाने घटना रोकिएका छैनन् । समाजमा जरा गाडेको कुप्रथा भएकाले अब कानुन पालनासँगै समाज पनि बदलिनुपर्छ । त्यसका लागि विद्यालय शिक्षाको पाठ्यसामग्रीहरूमा यसबारे चेतनामूलक सामग्री समावेश गरिनुपर्छ । गैरसरकारी संघसंस्थाले गर्ने प्रयत्नहरू पटके र प्रचारमुखी हुने भएकाले परिणाम नल्याएका हुन सक्छन्, स्थानीय सरकारले नै दिगो कार्यक्रम चलाउनुपर्छ, वडास्तरमै सूक्ष्म गतिविधि गर्नुपर्छ, प्रतिरोधात्मक अभियान छेडिनुपर्छ ।
सरकारले यसलाई हटाउन चालु वर्षमा एक करोड रुपैयाँ बजेटको कार्यक्रम बनाएको छ । जनचेतना जगाउने सामान्य गतिविधिमै उक्त बजेट खर्चिने तरखर देखिन्छ, त्यसलाई सक्दो प्रभावकारी बनाउन मन्त्रालयले जोड दिनुपर्छ । वर्षौंदेखिको कुरीतिलाई एकै दिनमा
तोड्न/तोडाउन पक्कै सजिलो छैन । यसका लागि सम्बन्धित प्रदेश र स्थानीय स्तरमा बलियो राजनीतिक प्रतिबद्धता चाहिन्छ । राजनीतिक दल र स्थानीय नेताहरूले घनिभूत रूपमा छाउपडीलाई अजेन्डा नबनाउनु भनेको चुपचाप यसलाई स्विकार्नु हो । समाज परिवर्तनको नेतृत्व गर्नुपर्ने दलहरूले सामाजिक दबाब र भोटका राजनीतिका अगाडि घुँडा टेक्न सुहाउँदैन । स्थानीय अगुवा नेताहरूले यसलाई ओठे भक्तिको विषय मात्र बनाएनन् भने पनि धेरै सुधार हुनसक्छ । र, यस्तो प्रतिबद्धता सबै ठूला दलहरूको हुन जरुरी छ, ताकि कसैलाई पनि मत प्रभावित हुने भय नहोस् । स्थानीय तहमा प्रतिनिधित्व गर्ने चालीस प्रतिशत महिला र संघीय संसद् र प्रदेशमा रहेका एक तिहाइ महिला सांसदले विशेष पहल गर्न सक्छन्, भलै यो मुद्दा महिलाको मात्र होइन । सम्बन्धित प्रदेश सरकारहरूले यसलाई मुद्दा बनाएर विशेष रणनीतिका साथ अघि बढ्नुपर्छ । कानुनै ल्याएर भए पनि पालिकाहरूमा छाउपडीको अनुगमन र कानुन कार्यान्वयनमा सघाउन स्थायी प्रकृतिको संरचना बनाउनु उपयुक्त उपाय हुन सक्छ ।

सम्पादकलाई चिठी

हामी डोली फर्काउँदैनौं

विवाह पञ्चमीको अवसरमा भगवान् श्रीराम र जनकपुत्री सीताबीच विवाहको कार्यक्रम आयोजना गरियो । भगवान श्रीराम जन्तीसहित जनकपुर आउनुभयो, सीताले शिवधनु सहजै उठाएर भगवान श्रीरामलाई स्वयम्वर वरण गरिन् । सीतालाई लिएर भगवान् श्रीरामको जन्ती अयोध्या फर्कियो । यो सांस्कृतिक पर्व जनकपुर लगायत नेपालका विभिन्न स्थानमा यस्तै सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइयो । नेपालकै एक स्थानमा यो कार्यक्रम अन्यभन्दा केही फरक रूपले मनाइएको खबर भने सबैका लागि आश्चर्यजनक लाग्न सक्छ । काठमाडौँकै एक स्थानमा प्रदर्शित सांस्कृतिक झाँकीमा विवाह र जन्ती प्रस्थानपछिको घटना पनि जोडिएको छ । जहाँ नेपाली परम्परा अनुसार सीता रामका साथमा डोली फर्काउन माइत आउँछिन्, तर माइतीले त्यसपछि सीतालाई घर फिर्ता पठाउँदैनन्, अनि भगवान् श्रीराम दुःखित मन लिएर एक्लै अयोध्या फर्कन्छन् । भगवान् श्रीरामलाई अर्धाङ्गिनी सीतालाई मधुमासकै बेला माइतमा छोडेर जानुपर्ने अत्यन्त पीडादायी वियोगजन्य अवस्था निम्ताउने पात्र अरु कोही नभएर विश्वमै हिन्दुत्वको पैरवी गर्ने, भगवान् श्रीरामकै देश, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन् । सांस्कृतिक कार्यक्रममा यो पनि थपिएको छ कि भारतका प्रधानमन्त्री मोदीले सीताको माइतीबाट प्रशस्त सम्पत्ति (दहेज) नपाएको झोँकमा नेपालको कालापानीलाई आफ्नो नक्सामा पारेर प्रकाशित गरेका हुन् । सांस्कृतिक कार्यक्रमको अन्त्यतिर नेपथ्यबाट उद्घोषक कुर्लन्छन् । अब दहेजको कुरीति चल्दैन । त्यो अतिक्रमित जमिन नेपाललाई फर्काएको दिनमात्र सीताको डोली फर्कनेछ । श्रोता, दर्शकदीर्घामा तालीको गडगडाहट छुट्छ । हेरौं, यो जबर्जस्तीपूर्ण दहेजबारे मोदीजीको कस्तो कदम हुन्छ ?
– मुकुन्द अर्याल, ज्योतिषी डाँडा स्याङजा

सम्पादकलाई चिठी

लोकप्रियता न अलोकप्रियता

- कान्तिपुर संवाददाता

यो उपनिर्वाचनमा न कांग्रेसले सोचेजस्तो सरकारको अलोकप्रियता रहेछ, नत नेकपाले सोचेजस्तो सरकारका कामको सबैतिर प्रचुर लोकप्रियता । तर अघिल्लो निर्वाचनमा कांग्रेस जसरी खुम्चिएको थियो, त्यो भने अहिले आशावादी बनेको निष्कर्ष विचार मन्थनबाट निस्कन्छ । कांग्रेस सभापतिले अब परम्परागत र हुकुमी शैली होइन, लचकता, शालीनता, दूरदर्शिता र युवाको मनोविज्ञान बुझेर अगाडि बढ्नुपर्छ । कांग्रेस केही माथि उठेको छ । यो पटक ‘होलिवाइन’को वास्तविकता, निर्मला काण्डको संवेदनशीलता, लिपुलेकमा सरकारको मौनता, भान्छामा भारतको विषादीयुक्त तरकारी पुग्दा पनि सरकारको बेवास्ता, सुन काण्ड, धराने जनताको घोपा क्याम्पप्रतिको आत्मीयता, दुई तिहाइले पूर्वका कृषि उपज निर्यातप्रति देखाएको उदासीनता, देखिनेगरी विकासका काम नहुनुलाई जनभावना र मनोविज्ञानसँग जोडेर देखाउँदा यो उपनिर्वाचनमा कांग्रेसको जितको आधार बनेेको हो । फलस्वरुप उसले ७ प्रतिशत मत बढाउन सफल भयो । दलमा गुट–उपगुट, केन्द्रमा नै मौकामा चौका हान्ने, खुटा तान्ने र खिचातानी बीचको यो प्रतिशत कांग्रेसका लागि अमूल्य छ ।
– सुरेश खतिवडा, [email protected]

सम्पादकलाई चिठी

श्रम शोषणको अन्त्य कहिले ?

- कान्तिपुर संवाददाता

विपन्न पृष्ठभूमिबाट आएका, विद्रोह, जेलनेल सबै भोगेर खारिएका प्रधानमन्त्रीबाट जनताले विकास, निर्माण तथा जनहितको पक्षमा उत्कृष्ट कामको अपेक्षा गरेका थिए । तर जनताका रहरहरू पानीमा किलो गाडेजस्तो भयो । जति–जति सरकारको कार्यकाल लम्बिँदै छ, उति–उति जनतामा निराशा बढ्दै गएको छ । सहरमा बसेर ठूलठूला उद्योग, कलकारखाना पर्यटन, रेल, पानीजहाज र समृद्धिका कुरा जति नै गरे पनि धेरै जनताको अहिले पनि जीविका चलाउने माध्यम कृषि नै हो । किसानले मिहिनेत र परिश्रमले मानु रोपेर मुरी भित्र्याउने यो समयमा बालीनाली फौजी किराले नष्ट पार्दा सरकार रमिते बनिरह्यो ।
समयमै नियन्त्रण गर्न नसक्दा किसानको मिहिनेत बालुवामा पानी हालेसरह भयो । रासायनिक मल तथा उन्नत बीउ–बिजनको मूल्य अकासिएको छ । त्यही पनि आवश्यक पर्दा किसानले सहजै पाउने स्थिति छैन । दुई बोरा मकै बेचेर एक बोरा मल किन्नुपर्ने बाध्यता भएका कृषि श्रमिकको हितमा यो सरकारले के काम गर्‍यो ? कम्युनिस्ट पार्टीको शासन छ । गरिब, किसान, मजदुरको अवस्था झन्–झन् बिग्रँदै गएको छ । सरकारले सबै श्रमिकले न्यूनतम मासिक १३ हजार ४ सय ५० रुपैयाँ पारिश्रमिक पाउनेगरी उनीहरूको तलब बैंक खातामा जम्मा गर्न परिपत्र जारी गरेको छ । सरकारले श्रम कानुनले निर्दिष्ट गरेको सेवासुविधा तथा न्यूनतम पारिश्रमिक लगायत अन्य वित्तीय सुविधा उपलब्ध नगराउने प्रतिष्ठानमाथि कारबाही गरिने बताएको छ । तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको अतिरिक्त हुलाकका कर्मचारीहरूको (चिठी वितरण गर्नेको) मासिक तलब ७ हजार २ सय मात्र छ । ग्रामीण भेगका हुलाकमा आफ्नो जोश, जाँगर, जवानी खर्चिएका कर्मचारीहरूको सरकारले निर्दिष्ट गरेको न्यूनतम मासिक तलब अझै निर्धारण गर्नसकेको छैन भने योभन्दा ठूलो विभेद, श्रमशोषण र लाजमर्दो सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट सरकारको लागि अरु के हुनसक्छ ?
– गम्भीरजंग आचार्य, सुगापा–५, सिन्धुली

सम्पादकलाई चिठी

गलत मनसाय होइन

- कान्तिपुर संवाददाता

मङ्सिर ७ गते शनिबार दोस्रो पृष्ठमा प्रकाशित ‘मन्त्रीको स्वागत गर्न बालबालिकालाई दुःख’ शीर्षकको प्रकाशित समाचार र तस्बिरप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अनाथ र असहाय बालबालिकाको विशेष संरक्षण गर्नुपर्छ
भन्ने मान्यता अनुसार हामीले उनीहरूको पालन–पोषण गरिरहेका छौं । उनीहरूको राज्यबाट पनि त्यतिकै हेरचाह र संरक्षण हुनुपर्छ भन्ने मान्यता यस संस्थाको रहेको छ । त्यस दिन बालबालिकालाई मन्त्रीको स्वागत गर्न नभई सिंहदरबार घुमाउन लैजाने क्रममा मन्त्रालय गएको जानकारी गराउँछौँ ।
– तीलबहादुर कार्की, संयुक्त अपाङ्ग एकता आवाज समाज, गोकर्ण, काठमाडौं

सम्पादकलाई चिठी

छाउगोठको विकल्प

‘बेँसी जान उठिनन् पार्वती’ खबरमा छाउगोठमा निस्सासिएर युवतीको मृत्यु भएको खबर पढ्नुपर्दा मन ज्यादै दुःखित भयो । समाचार पढ्दा मुटुमा कताकता च्वास्स घोचेको महसुस भयो । आजभोलि सहरतिर महिनावारीको समयमा कुनै समस्या भएको खबर सुनिँदैन । तर मध्यपश्चिमका केही ग्रामीण तथा दुर्गम जिल्लामा यो समस्या अझै छ । छाउगोठमा सर्पले टोकेर, बलात्कारमा परेर, निस्सासिएर, चिसो लागेर, आगोले डढेर महिलाहरूको मृत्यु भएका खबर बेलाबेला आइनै रहन्छ ।
अझ सुत्केरी महिलालाई पनि त्यसरी छाउगोठमा राख्दा आमा र बच्चाको हालत के होला ? सोच्दा मात्रै पनि हाम्रो आङ सिरिङ्ग हुन्छ । मुलुकी अपराध संहिता २०७४ ले यस्ता कामलाई अपराध मानेर सजायको व्यवस्था गरे पनि यो कुप्रथा अझै बन्द हुनसकेको छैन । केही समय अघि प्रकाशित एउटा खबरमा वडा प्रमुख तथा गाउँका बुद्धिजीवीहरूले छाउगोठ भत्काउनाले अछाम भेगका महिला ओडारमा बस्न जानुपरेको खबर थियो । यसबाट के पुष्टि हुन्छ भने विभिन्न गैरसरकारी संस्था तथा सरकारी संस्थाहरूले जतिसुकै खर्च गरेर जनचेतनाका कार्यक्रम चलाए पनि कुलदेवता रिसाउँछन् भनेर महिलालाई महिनावारीको समयमा घर बाहिर बस्न पठाउँछन् । यसरी धर्म र आस्थासँग जोडिएको सन्दर्भमा धर्मान्धताका कारण मान्छेमा परिवर्तन ल्याउन सबैभन्दा कठिन हुन्छ । अब सरकारले यस्को विकल्पमा सुविधासम्पन्न छाउ होस्टल खोल्नुपर्ने देखिन्छ । छाउप्रथा कायम रहेका हरेक स्थानीय तहका वडाहरूमा वडा कार्यालयको निगरानीमा शौचालय, भान्छाघर सहितको चारकोठे पक्की भवन निर्माण गराउने र सोही स्थानीय तहको अनुदानमा त्यहाँको सबै खर्च व्यहोर्ने व्यवस्था गर्ने हो भने हाम्रा छोरीचेलीले अकालमा ज्यान गुमाउनु पर्दैन ।
– शम्भु मल्ल, श्रीकालिका शरण मावि, जहर्सिङ पौवा, काठमाडौँ

दृष्टिकोण

अभ्यस्ताको आनन्द

शब्द साक्षी
- सीके लाल

अन्तरजालले मिडिया प्रयोगकर्ताहरूको ध्यान–अवधिलाई संकुचित तुल्याइदिएको छ । पत्रकारहरू अन्तर्वस्तुका संकलक एवं प्रदायक भएका छन् । पाठक, श्रोता एवं दर्शकको भूमिका उपलब्ध मिडिया सामग्रीको उपभोग गर्नुमा सीमित हुँदै गएको छ । त्यसैले मिडियाकर्मी बजारमा बिक्ने कुरा पस्किन रुचाउँछन् । मिडिया उपभोक्ता तात्कालिकतामा रमाउँछन् र महत्त्वपूर्णभन्दा मजेदार सामग्रीलाई प्राथमिकता दिन्छन् । क्षमताभन्दा महत्त्वाकांक्षा बढी भएका आसेपासेको लहलहैमा लागेर प्रत्यक्ष राज्यसत्ता चलाउने लोभले गर्दा राजगद्दी एवं श्रीपेच सँंगसंँगै गुमाएका पूर्वराजा आजभोलि सामाजिक एवं सांस्कृतिक जीवनमा लिप्त रहने अभ्यासमा छन् । राजधानीको सम्भ्रान्त परिवारका लागि क्लबमा गएर नाच्नु कुनै ठूलो कुरा होइन । मिडिया उपभोक्ताका लागि भने त्यो सामग्री केही दिनका लागि अनौठै भयो । रुमानी राष्ट्रवादको आह्वान–गान ‘रातो र चन्द्र–सूर्य’ घन्केपछि राजा होओस् वा रंक, जुनसुकै गोर्खालीको जीउ हल्लिनु स्वाभाविक हो ! त्यसपछि पूर्वराजा प्रसन्न रहन षोडश उपचार पूजा गर्न गए । मिडियाले अर्को चित्ताकर्षक समाचार भेट्टायो । पूर्वराजाको व्यक्तित्वमा सञ्चार माध्यमहरूले राजेश हमालपछिको दोस्रो मिडिया प्रतिमानी (सेलेब्रिटी) पाएका छन् । मिडियाले दिएको स्थानबाट राजावादी दंग, अप्रासंगिक गतिविधिहरू देखेर गणतन्त्रवादी सन्तुष्ट एवं आकर्षक सामग्री पस्किन पाएकामा पत्रकार प्रसन्न बन्ने जस्ता सबैको जित हुने विषय नेपालमा थोरै बाँकी छन् ।
आक्रामक राष्ट्रवादको कालापानी कामज्वरो ओर्लिन भने झन्डै दुई हप्ता लागेको छ । यस्तो मामिला कूटनीतिक वार्ताद्वारा सल्टाउनु सबभन्दा सहज उपाय हो । त्यो तरिका अफाप भयो भने अन्तर्राष्ट्रिय हस्तक्षेपका लागि गुहार लगाउन सकिन्छ । अन्तिम बाटो भनेको एकताका माओवादीहरूले गरेजस्तै सुरुङ युद्धको तयारीमा लाग्नु हो । जंगबहादुरले गोरा साहबहरूप्रति वफादारी देखाएर नयाँ मुलुक बकस थापेको जस्तो अवस्था अब रहेन । नयाँ दिल्लीको हिन्दुत्ववादी सत्ता घाटाको सौदा गर्छ भन्ने भ्रममा
नरहे हुन्छ । निहुँ पाए बरु अँठ्याउला, भारतसंँगको विवादमा चीनको साथ पाउने अपेक्षा पनि हद दर्जाको आशावाद हो । सडक तताएर यीमध्ये कुन विकल्पको पक्षमा जनमत तयार हुन्छ ? त्यति साधारण कुरा ठम्याउन हप्तौं लाग्यो । तर, मुद्दा जीवित राख्न सकेकामा गोर्खाली गौरवका स्वघोषित उत्तराधिकारीहरू मक्ख छन् ।
परिस्थितिको गम्भीरतालाई अभियन्ताहरूले भने ठम्याउन थालेका छन् । ‘चुच्चे नक्सालाई बुच्चे बनाउने को हो ?’ भन्ने प्रश्न अग्रज पत्रकार भैरव रिसालको मनमा बल्ल उठ्न थालेको छ । विवाद प्रोत्तेजकका रूपमा उल्लेख्य रूपले सफल राजनीतिकर्मी ऋषिराज लुम्सालीको बोलीमा समेत अब निरीहता झल्किन्छ । केही अवकाशप्राप्त अधिकारीहरूले आफ्नो सान्दर्भिकता दर्साउन बेलाबेला अझै पनि ‘सुस्ता–कालापानी’ जपिरहने निश्चित छ । तर, आक्रामक राष्ट्रवादको नारा उचाल्ने अग्रपंक्तिमा नेपाली कांग्रेस देखिनु भनेको नयाँ विकसित हुँदै गएको प्रवृत्ति हो । विवादित संविधान जारी गर्ने बेला तत्कालीन एमाले, माओवादी एवं नेपाली कांग्रेसबीचको नृजातीय ऐक्यबद्धता मधेसविरोधी मानसिकता तथा भुइँचालोबाट उत्पन्न संकटलाई अवसरका रूपमा छोप्न सकिने परिस्थितिको आवश्यकता थियो । नेपाली कांग्रेसले समेत ‘माले–मशाले–मण्डले’ राष्ट्रवाद अंगीकार गरिसकेपछि अब वैचारिक विभेद पनि मेटिएकाले उपनिर्वाचनको परिणाम बहसको विषय हुनु नपर्ने हो । गाई वा त्रिशूल जता पल्टिए पनि सिक्का
उछाल्नु भाग्यको खेल हो । त्यस कर्मले तुलनात्मक क्षमतालाई दर्साउँदैन । सिक्का खोटो पर्‍यो भने खेलमा झेल भएको शंका गर्न सकिन्छ । त्यस्तो अवस्था देखिएको छैन । मिडिया प्रयोगकर्ताहरूलाई केही कालसम्म अल्झाइराख्न भने उपनिर्वाचनको चिरफार दक्षिण एसियाली खेलकुदभन्दा पनि प्रभावकारी ठहरिन सक्छ । सरकार प्रमुखसँंगसँंगै शासन व्यवस्था नै बिरामी भएर आराम गरिरहेका बेला राजनीतिक गफमा रम्न चाहनु अन्यथा होइन ।

ससाना खुसीहरू
राजनीतिक विश्लेषण गजबको विधा हो । कुखुरापालनबारे गरिएको टिप्पणीलाई आधिकारिक देखाउन टिप्पणीकारले कम्तीमा अनुभवको दाबी गर्नुपर्ने हुन्छ । इन्जिनियरिङ, चिकित्सा वा कानुनको ज्ञान बाँड्नुअगाडि पढेको कुरा देखाउन सक्नुपर्छ । राजनीतिबारे जानकार छु भन्नलाई त्यस्तो कुनै प्रामाणिकता पेस गरिराख्नु पर्दैनÙ सोझै धूवाँधार प्रवचन दिन सुरु गरे हुन्छ । त्यसैले निष्पक्ष ‘राजनीतिक विश्लेषक’ परस्पर विरोधी पदावली हो । राजनीतिक विशेषणसंँग पक्षधरता स्वाभाविक रूपमा जोडिएर आउँछ । त्यति कुरा ठम्याएपछि सार्वजनिक वृत्तमा आइरहेका टिप्पणीहरू अर्थ्याउन सजिलो हुन्छ । वर्तमान अवस्थामा साझा, विवेकशील वा जनमत जस्ता पार्टीहरूको प्रमुख भूमिका भनेको नेकपा दोहोरोविरोधी शक्तिहरूको मत मात्र नभई मनस्थितिसमेत विभाजित अवस्थामा कायम राख्नु हो । उपनिर्वाचनका क्रममा मत काट्न खासै सफल नभए पनि प्रतिपक्षको मनोबल घटाउन तिनले उल्लेख्य सफलता हासिल गरेका छन् । तीमध्ये केही उपयुक्त मानको खोजीमा नयाँ पंक्तिहरूतिर लोभिन सक्छन् । विचारधारामुक्त एवं उद्यमीप्रधान राजनीतिक मञ्चहरूबाट त्योभन्दा बढी अपेक्षा राख्नु उपयुक्त हुँदैन । विश्लेषक जमातले खुद्रा पार्टीहरूको जतिसुकै खिल्ली उडाए पनि ती समसामयिक राजनीतिका अतिरिक्त खेलाडी हुन् । आफ्नो उपस्थिति देखाउन पाएकामा तिनका प्रमुख उद्यमीहरू खुसी नै हुनुपर्छ ।
संसदीय निर्वाचनमा नीति, नेतृत्व एवं संगठनसंँगसंँगै अगुवा कार्यकर्ता तथा समर्थकहरूको स्रोत परिचालन क्षमताको पनि परीक्षा हुन्छ । संसदको उपनिर्वाचन सत्ताधारी दलको अधिप्रचार संयन्त्रको प्रभावकारिता मापन गर्ने अवसर हो । स्थानीय उपनिर्वाचनमा भने स्थानीय मुद्दा एवं सम्बन्धित उम्मेदवारको पात्रता निर्णायक हुन्छन् । त्यस दृष्टिकोणबाट हेर्ने हो भने
आफ्नो आन्तरिक खिचलोका बावजुद नेकपा दोहोरोका उपलब्धिहरू बेवास्ता गर्न नसकिने किसिमका छन् । समग्र परिणाममा विपक्षीजति जम्मैको विजयतालिकाभन्दा नेकपा दोहोरो एक्लैको उपलब्धि झन्डै दोब्बर छ । प्रतिपक्षको साटो सहयोगी दल बनेको नेपाली कांग्रेसलाई ‘राष्ट्रवादी अडान’ रणनीतिको कुनै निर्वाचकीय लाभांश स्थानीय प्रतिस्पर्धामा समेत हात लागेन । नेकपा दोहोरोको प्राप्ताङ्क केही घटे पनि सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीको नेतृत्व उनको अस्वस्थताका बावजुद उपनिर्वाचनको जाँचमा सम्मानका साथ उत्तीर्ण भएको ठहर गर्न धक मान्नुपर्दैन । उपबुज्रुक विज्ञहरू जतिसुकै उफ्रे पनि पहाडका मतदाताका अगाडि नेकपा दोहोरो नृजातीय मुक्तिदाता रहेको संकथन अद्यापि कायम छ । धरान एवं भक्तपुरका परिणामलाई सामान्यीकरण गरेर नेपाली कांग्रेसका महिमामण्डकहरूले हर्षबढाइँ गर्न नहतारिए हुन्छ । नेकपा दोहोरोका समर्थकहरूले आफ्ना सर्वेसर्वाको हर्षबढाइँ गर्ने प्रशस्त मसला भेट्टाएका छन् ।
सरकारप्रति असन्तुष्टि बढेको पुष्टि भयो भन्ने नेपाली कांग्रेसको हतारको निर्क्योल ‘खयाली पुलाव’ (विस्फल थिङकिङ) मात्रै हो, राजनीतिक यथार्थको अभिव्यक्ति होइन । त्यस दाबीलाई ठाडै खारेज गरिदिए पनि फरक पर्दैन । तर, उपनिर्वाचनबाट सन्तुष्ट हुने अवसर नेपाली कांग्रेस नेतृत्वले पनि पाएको छ । विचारविहीन राजनीति, निस्तेज नेतृत्व, अस्तव्यस्त संगठन, निरुत्साहित समर्थक एवं कार्यसूची बेगरका कार्यकर्ताको भरमा दोस्रो दलको अवस्था कायम राख्न सक्नु चानचुने सफलता होइन । सुवर्ण शमशेरपछि सम्भवतः सबभन्दा राजसी जीवनशैली भएको सभापति पाउनु नेपालको भव्य बुज्रुग दल (ग्रान्ड ओल्ड पार्टी) को अहोभाग्य हो । तिनका समर्थकहरूले पनि आफ्ना नेताको वैभवशाली प्रदर्शनमा खुसियाली मनाए हुन्छ । मताधार मधेसभित्र मात्रै सीमित रहे पनि ‘राष्ट्रिय’ एवं ‘समाजवादी’ विशेषण झुन्ड्याएका राजनीतिक दलहरू विद्यमान संविधान कायम रहेसम्म अहिलेभन्दा खासै राम्रो गर्न सक्ने सम्भावना देखिँदैन । मधेसवादी अभियन्ताहरूले तिनको एकीकरणको जतिसुकै कामना गरे पनि राजनीति कोरा आदर्शको अभ्यास मात्र नभएर लाभहानिको जोड–घटाउ गरेर गरिने कारोबार पनि हो । उपनिर्वाचनको परिणामले राष्ट्रिय दलको अध्यक्षमण्डल वा समाजवादी दलको सर्वेसर्वामध्ये कसैको पनि राजनीतिक वजन घटाएको छैन । ती पनि सन्तुष्ट नै हुनुपर्छ । आ–आफ्ना खोपीमा सबै राजनीतिक खेलाडी अहिलेलाई मस्तले सुते हुन्छ । संघर्षको मोर्चा खाली छ एवं देशमा अमनचैन कायम छ ।

लाचारीको संस्कार
परालको आगोसरि पटक–पटक ह्वार्र बलेर खरानी भए पनि मधेसले आफ्नो आक्रोश दर्साउन छोड्दैन । पहाड होओस् वा मधेस, जनजातिको संयम भने बुझिनसक्नुको छ । मासिने र नमासिने जस्ता नितान्त काल्पनिक एवं होच्याउने श्रेणीमा विभाजन गरेर एक शताब्दीभन्दा बढीसम्म तिनको जवानी विश्वयुद्ध बजारमा बेचियो । प्रतिरोधको ज्वाला कहिल्यै दन्किन सकेन । तीन दशकदेखि दरबारको बोझ उचालेर राखेको काँधमा एक दशकसम्म सशस्त्र संघर्षको भार पनि थपियो । अहँ, ती कहिल्यै थाकेनन् । बहिष्कृत समुदायका अगुवाहरूमा सहवरणद्वारा व्यक्तिगत हित सुरक्षित गर्ने चाहना प्रबल हुने हुँदा नेतृत्वको संकट तिनको सामूहिक नियति नै हो । तर, त्यस्तो कम मापदण्ड (लो बार) अनुसार पनि जनजातिमा नेतृत्वको दरिद्रता अत्यासलाग्दो देखिन्छ । सामुदायिक नेतृत्व सामान्यतः क्षत्रियमा वंशवाद, बाहुनमा अंशवाद, संन्यासीमा विरासतवाद, वैश्यमा परिवारवाद एवं शूद्रमा संघर्षवादबाट हुन्छ । बहिष्कृत समुदायहरू जन्मले जुनसुकै वर्णको भए पनि यथार्थमा शूद्रसरह हुन्छन् । संघर्षबाहेक तिनका लागि आफ्नो परिस्थिति बदल्ने अर्को कुनै बाटो हुँदैन । तर भन्छन् नि— आदतले जन्माएको लाचारी ! आजभोलि मधेसी, जनजाति, दलित एवं अन्य बहिष्कृतजति जम्मै आ–आफ्ना दुःखमा सन्तुष्ट देखिंँदै छन् ।
भेडा हुनुको आनन्द अरू जीवले कहाँ पाउनु ! त्यसैले होला, महाकवि लक्ष्मीप्रसाद देवकोटा बिन्ती बिसाउँछन्— प्रभुजी, मलाई भेडो बनाऊ । गणेशमान सिंह भने बम्किएका थिए— काठमाडौंका मतदाता भेडा छन् । राजनीतिक शक्तिको मिहिन व्याख्या गर्ने फ्रान्सेली दार्शनिक बर्ट्रान्ड डे ज्युभेनेल (१९०३–१९८७) को प्रख्यात उक्ति छ— भेडाहरूको समाजले ढिलोचाँडो ब्वाँसाहरूको सरकार भेट्टाउँछ । राजनीतिको चक्रीय गतिबाट सामान्यजन पनि तर्सिनुपर्ने कुनै कारण छैन । शासन सिंहले गरोस् वा ब्वाँसाहरूको झुन्डले, तिनको आहारा बन्नबाट बच्ने एक मात्र उपाय सचेत एवं संगठित प्रतिरोध हो । त्यस कर्मका लागि आँट जुटाउनुको विकल्प छैन ।

Page 7
दृष्टिकोण

यसरी हट्छ छाउपडी

- डा. अरुणा उप्रेती

अहिले ‘छाउपडी’ कुरीति विरुद्ध जनमत नै सिर्जना भएको छ । सामाजिक कार्यकर्ता र सरकारी निकायले पनि सकारात्मक भूमिका खेलेका छन् । अब महिनावारी हुँदा छाउगोठमा नबसेका सुदूर पश्चिम र कर्णालीका महिला र किशोरीहरूका कथा पनि बाहिर आउनुपर्छ । त्यसो भए मानिसहरूले सुदूर पश्चिम र कर्णालीमा पनि बोल्ने महिलाहरू रहेछन् भनी थाहा पाउँछन् । ‘छाउ’ भएका बेला घरमै बसेका उनीहरूले ‘पाप’को अनुभूति गरेका छैनन् भन्ने सन्देश जान्छ । केही धामीले पनि ‘छाउ’ बार्नु पर्दैन भनिसकेका छन् । 

पहिले–पहिले साना बालबालिकालाई झाडापखाला लाग्दा धामीकहाँ लगिन्थ्यो । उनीहरूले ‘झाडापखाला लागेको बेला पानी पनि खान नदिनू’ भन्थे । पानीको कमी भएर बालबालिका मर्थे । तर धामीहरूलाई यो विषयमा जानकारी दिएपछि ‘बच्चाको जीवन बचाउन जीवनजल खानैपर्ने रहेछ’ भन्ने धामीहरूले बुझे । उनीहरूले बच्चालाई फुकफाक गरे पनि स्वास्थ्यचौकीमा जीवनजल ख्वाउन पठाउन थाले । सरकारले पनि आमसञ्चार माध्यमबाट नुन, चिनी, पानी र जीवनजलबारे जानकारी दियो र जनसमुदायमा जीवनजल पखाला लाग्दा ख्वाउनपर्ने रहेछ भन्ने बुझाइ बन्यो । अहिले कसैले पनि झाडापखाला लागेको बेला जीवनजल ख्वाउनु हुँदैन भन्न सक्दैन । यसैगरी छाउपडी विरुद्ध पनि बोल्ने हो भने सुधार आउन सक्छ । अहिले अछाम, डोटीका धामीहरू पनि यस कुरीतिबारे बोल्न थालेपछि चेतना बढेको छ । छाउपडी गलत हो भन्ने विचार स्थापित भएको छ । यस विरुद्ध आवाज उठेपछि नै समाचार छापिएका हुन् । छाउपडी विरुद्ध काम भएर नै यस्ता घटना बाहिर आएका हुन् । पछिल्लो समय ‘छाउपडी’ हटाउन सरकारी तवरबाट पनि केही कदम चालिएका छन् । तर प्रश्न उठ्छ, यी कदम किन सफल भइरहेका छैनन् ?
छाउपडीबारे बोल्दा केही संस्था र व्यक्ति महिनावारी भएका महिलालाई सुरक्षित रूपमा बस्न सुरक्षित छाउगोठ बनाइदिनुपर्छ भन्ने गलत तर्क पनि गर्छन् । यसले महिनावारी फोहोर हो । यो बेला भिन्नै ठाउँमा बस्नुपर्छ भन्ने गलत मान्यता स्थापित हुन्छ । के त्यसो भए दलितहरूलाई ब्राह्मणहरूबाट टाढा लगेर सफा घर बनाइदिने, तिनका केटाकेटीका लागि अलग्गै स्कुल र अस्पताल बनाइदिने ? यस्तो हुनुहुँदैन । यस्तो मान्यतालाई हामी मान्न सक्दैनौं । यस्तै ‘सुरक्षित छाउघर’ बनाउने कुरा पनि मान्य छैन ।
छाउपडी विरुद्ध बनेका कानुन व्यवहारमा लागू भएका छैनन् । एउटी हजुरआमाले के आफ्नी १४ वर्षीया नातिनी बलात्कृत होस्, सर्पले टोकोस्, आगोले जलेर मरोस् भन्ने चाहन्छिन् होला र ? के सुदूर पश्चिमका हजुरआमाहरूको मन काठमाडौंमा बस्ने हजुरआमाहरूको भन्दा कठोर छ होला र ? त्यसो त पक्कै होइन । तर सुदूर पश्चिम र कर्णालीका हजुरआमाहरूलाई धामी र मष्टोको डरले नातिनीको मायालाई खप्लक्क खाइदिएको छ । चाहेर पनि उनीहरू नातिनीलाई महिनावारी हुँदा छाउगोठमा नजाउ भन्न सक्दैनन् । किनभने उनीहरूको चेतनाको स्तर कमजोर छ । हजुरआमाहरूको मनमा मष्टो रिसाउँछन्, मारिहाल्छन् भन्ने डर छ । तर त्यही मष्टोले अमेरिका जाने सुदूर पश्चिमका महिलालाई चाहिँ दुःख दिँदैन । नत्र त अमेरिकामा पनि ‘छाउगोठ’ बनाउनुपर्ने हुन्थ्यो । सुदूर पश्चिमका पुरूष समेत मष्टोबाट धेरै तर्सेका छन् । त्यसैले आफ्नी श्रीमती, छोरी र नातिनीको सुरक्षाका लागि केही बोल्न सक्दैनन् । अब तिनले यस कुरीति विरूद्ध बोल्नुपर्छ ।
अछामकी अप्सरा कुँवरले धेरै अघि नै छाउगोठ जान छोडिसकेकी थिइन् । तर त्यो कुरा पत्रिकामा आएन । अछाम र डोटीतिरका केही किशोरी छाउगोठ जानुपर्छ भनेर महिनावारी भएको कुरा ३/४ महिनासम्म पनि भन्दैनन् । कसैले सोधिहाले हामीले औषधि खाएर महिनावारी रोकेका छौं भन्दारहेछन् ।
आफ्नो सुरक्षा गर्न बनाएको रणनीति र महिनावारीमा छाउगोठ नगए पनि केही पाप लाग्दैन भन्ने तिनले बुझिसकेका छन् ।
अब स्वदेशी तथा विदेशी सञ्चार माध्यमहरूमा छाउगोठ नजाने महिलाहरूलाई पाप पनि लाग्दैन र ‘मष्टो’ले पनि केही गर्दैन भन्ने सन्देश आइदिए बेस हुन्छ ।

दृष्टिकोण

सरकारको 'समृद्धि' आख्यान

- हरि रोका

 

ओली सरकारले मुख्यतः तीन काम अघि बढाउन जनादेश पाएको थियो । पहिलो, संघीयतालाई वास्तविक आधारभूत तहदेखि संघसम्म (बटमअप एप्रोचका आधारमा) संस्थागत गर्ने । दोस्रो, संविधानमै व्यवस्था गरिएको समाजवाद–उन्मुखताको मूर्त परिभाषा गर्ने र त्यही बमोजिम राज्यको विद्यमान संरचना कानुनसम्मत ढंगले रूपान्तरण गर्ने । र तेस्रो, असंलग्न परराष्ट्रनीति तथा पञ्चशीलको सिद्धान्त अनुरूप तुलनात्मक वा पारस्परिक तथा प्रतिस्पर्धात्मक लाभ (कम्पेरेटिभ तथा कम्पिटेटिभ बेनेफिट) लिने ।
समन्वयकारी संवैधानिक तथा कानुनी संरचना निर्माण गर्दै ‘बटमअप एप्रोच’ का आधारमा अति सामान्य बहुसंख्यक जनतासँग सहकार्य गर्ने यो विशद अवसर थियो, सरकारका लागि । तर सरकारी नेतृत्वले संघीयतामार्फत गरिनुपर्ने स्वयं–शासन (सेल्फ रुल) वा असली विकेन्द्रीकरणप्रति रुचि राखेको छ भनी संस्थागत कामकारबाहीले पुष्टि गर्दैनन् । नाम नै कम्युनिस्ट पार्टी हुनु र संविधानमा समाजवाद–उन्मुख समाज–व्यवस्थाको प्रावधान हुनुले सरकारलाई ठूलो मौका मिलेको थियो । उसलाई सर्वाधिक नयाँ खाले समाजवादी प्रजातन्त्रको हिमायती हुँ भनेर मुखले होइन, काम गरेर देखाउन बलियो जनादेशसहितको राज्यसत्ता उपलब्ध थियो । मुलुकको आर्थिक–सामाजिक संरचनामा खास गरी श्रमजीवी वर्गको अपेक्षा अनुरूप उत्पादनका साधनमाथिको पहुँच व्यवस्थापन गर्न उसलाई उचित अवसर थियो ।
अहिलेको विश्व व्यवस्था बहुध्रुव–उन्मुख हुँदै छ । चीन र अमेरिकाबीच ठूलो व्यापार युद्ध चलिरहेको छ । भारत र चीनबीच तुलनात्मक लाभ लिने होडबाजी छ । बहुध्रुवीय व्यवस्थामा आपसी प्रतिस्पर्धा मात्र हुन्न, सद्भाव–सहकार्य पनि हुन्छ । रणनीतिक रूपमा नेपाल पारस्परिक तथा प्रतिस्पर्धात्मक लाभ लिन सक्ने ठाउँमा छÙ क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरूबीच सहमति तथा सहकार्य गर्न–गराउन सक्ने भू–राजनीतिक केन्द्रका रूपमा स्थापित हुन सक्ने स्थानमा छ । यो भनेको नेपालको बहुआयामिक विकास–निर्माण तथा विस्तारका लागि आवश्यक लगानी र प्रविधिको कमी नहुनुपर्ने परिस्थिति बन्नु हो । तर सरकार र निकायहरूका लागि परराष्ट्रनीति राष्ट्रिय राजनीतिको पाटोभन्दा पनि सुखद पर्यटनका लागि अवसर जुटाउने बहाना भएको छ । सरकारले ६० महिने आवधिक समयमध्ये २१ महिना गुजारिसकेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको नेकपा सरकार किन अलमलियो ? यो अझै पनि गम्भीर प्रश्न हो ।

सैद्धान्तिक–वैचारिक अस्पष्टता
सबै विचार सिद्धान्त हुँदैनन् । गहकिलो विचार अनेक परीक्षणपछि सिद्धान्त बन्ने हो । सबै खाले सिद्धान्त सधैंका लागि कार्यान्वयनकारी हुँदैनन् । तिनको पनि निश्चित आयु हुन्छ । समाजविशेषको बनोट, चेतनास्तर, आर्थिक–सामाजिक अवस्था र परिवर्तन गर्नुपर्ने आवश्यक सूची तयार गरेर सिद्धान्तको मूल मर्मलाई समयसापेक्ष परिमार्जन गरिन्छ वा नयाँ भाष्य दिइन्छ । सिद्धान्तको मूल मर्म त्यति विघ्न बंग्याइँदैन । मूल मर्म विस्थापित हुने गरी ‘डिस्टोर्सन’ गर्ने परिपाटीलाई मार्क्सेली शब्दकोशमा ‘संशोधनवाद’ भनिन्छ, जुन नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ शब्दावली होइन । सत्तारूढ नेकपालाई हेर्दा यति मात्र भन्न सकिन्छ— मार्क्सवादको ‘ओरिजिनालिटी’ को कुरै छाडौं, एडवार्ड बर्नास्टाइन संशोधनवादको ‘स्पिरिट’ पनि यसले धान्न खोजेको देखिन्न । कुनै पनि राजनीतिक पार्टीले सिद्धान्तको मूल मर्म परित्याग गरेपछि व्यवहारवाद अर्थात् यथास्थितिलाई कसरी परिष्कृत गर्ने र उत्कृष्ट हुने भन्नेमा ध्यान दिने गर्छ । अर्थात्, ऊ दीर्घकालीन रूपान्तरण र दिगो विकासमा होइन, दैनन्दिनका समस्यासँग जुझ्न थाल्छ । यसले आफ्नै समाज र विश्वव्यापी प्रवृत्ति कता ढल्कँदै छ भन्ने बुझ्न, रूपान्तरणका लागि दीर्घकालीन कार्यक्रम बनाउन र संस्थागत व्यवस्थापन गर्न सिकाउँदैन ।
केही उदाहरण हेरौं । सन् २००८ को वित्तीय संकटयता विश्वव्यापी रूपमा हावाको दिशा बदलिएको छ । पश्चिमा पुँजीवादी मुलुक अझै संकटग्रस्त छन् । लगानी प्रतिफल दर घट्दो छ । ज्याला र आय स्थिर अर्थात् मुद्रास्फीतिका तुलनामा दशकौंदेखि अवरुद्ध छ र बहुसंख्यकलाई जीवन धान्न गाह्रो परिरहेको छ । श्रमजीवी, खास गरी युवा श्रमिक आफ्नै काममा सन्तुष्ट छैनन्, नेपालको कृषि क्षेत्रका युवा पुस्ताझैं । यी असन्तुष्टि भजाउँदै दक्षिणपन्थी अतिवादीहरू सत्ताको भर्‍याङ चढ्न सफल भएका छन्, जसका उदाहरण हुन्— पोल्यान्ड, रूस, हंगेरी, टर्की, रुमानिया, चेक गणतन्त्र, भारत र ब्राजिल लगायत । अहिले विश्व अर्थतन्त्रमा चार वटा मूल प्रवृत्ति बलशाली छन् । पहिलो, व्यापारको स्थानीयकरण (डिग्लोबलाइजेसन अफ ट्रेड)Ù दोस्रो, जनसांख्यिक वृद्धि खास गरी श्रमिक शक्ति वृद्धिमा डरलाग्दो स्खलन (डिपपुलेसन एज लेबरफोर्स स्रिङ्क)Ù तेस्रो, उत्पादकत्वमा ह्रासÙ र चौथो, अत्यधिक राष्ट्रिय सार्वभौम ऋण सोहोर्ने प्रवृत्ति ।

व्यापारको स्थानीयकरण
स्थानीयकरण (डिग्लोबलाइजेसन) लाई व्यापार र विनिमय प्रणालीमा संरक्षणवाद लागू गर्ने अर्थमा
बुझ्नुपर्छ । विनिमय प्रणालीमा मुद्राको मूल्यवृद्धि (एप्रिसिएसन) गरेर चीनले बजारलाई अँठ्याइरहेको छ र आयात–निर्यातमा धोखाधडी गरिरहेको छ भन्ने झगडाबाट सुरु भएको ‘डिग्लोबलाइजेसन’ प्रक्रिया यति बेला अमेरिका स्वयंबाट विश्व व्यापार संगठन (डब्लुटीओ) अन्तर्गतका सम्झौता उल्लंघन, सन्धि खारेज र वस्तु तथा सेवा आयातमा २०० प्रतिशतसम्म भन्सार वृद्धिमा पुगेको छ ।
सन् २०१६ यता ब्रेक्जिट, आप्रवासन तथा आवतजावतमा कडाइ, निश्चित मुलुकसँग मात्र व्यापार र निश्चित मुलुकमा मात्र त्यो पनि एकपक्षीय सर्त हावी हुने गरी लगानी गर्ने प्रवृत्ति अहिले सामान्य भएको छ । १९७० को दशकमा बनेको भनिएको ‘वासिङ्टन कन्सेन्सस’ र त्यसपछि अभियानका रूपमा विश्वविख्यात वित्तीय संस्थाहरूको पहल र निगरानीमा सुरु गरिएको नवउदारवादी खुला बजार प्रणालीको मूल मर्मलाई अहिले विधिवत् रूपमा खारेज गर्न खोजिएको छ । तीन वर्षयता अधिकांश क्षेत्रीय र अन्तरदेशीय व्यापार तथा पारवहन सन्धिहरू या स्थगित भएका छन् या त खारेज । ठूला पुँजीवादी मुलुकहरूले खोचे थापेजस्तै क्षेत्रीय शक्तिहरूले पनि संरक्षणवादी नीति अख्तियार गरिरहेका छन्, जसको सिकार हामी पनि हुने गरेका छौं । यी सबैको असर व्यापार हुँदै उत्पादनमा पर्नु अस्वाभाविक होइन । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले प्रक्षेपण गरेकै डाटा हेर्ने हो भने सबै मुलुकको आर्थिक वृद्धि ओरालो झर्ने क्रममा छ । १० प्रतिशत वृद्धिदर भएको चीन हाल ६ प्रतिशतमा कुदिरहेको छ भने, कुनै बेला ८ प्रतिशतमा रहेको भारत ३ देखि ५ प्रतिशतमा झर्ने अनुमान छ । बितेका चार महिनाको आँकडा हेर्दा उत्पादन वृद्धि माइनस ४ मा झरेको छ । २००९ पछि निर्यातमूलक आर्थिक वृद्धिको रणनीति अपनाइरहेका मुलुकहरू यति बेला क्षेत्रीय र आन्तरिक बजार संवर्द्धनमा केन्द्रित छन् । आर्थिक रणनीतिमा व्यापक फेरबदलको अवस्थामा नेपालले भरपर्दो आर्थिक नीति निर्माणका लागि दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन योजना तर्जुमा र त्यसै अनुरूप घरेलु तथा वैदेशिक नीति अख्तियार गर्न जरुरी थियो र छ । तर सरकार ‘नियोलिबरल मार्केट इकोनोमिक डक्ट्रिन’ भित्रै समाजवाद खोजिरहेको छ, आईएमएफ र विश्व बैंकले थमाइदिएको रणनीति र कार्यनीतिको ‘इकोनोमिक बाइबल’ बोकेर । सरकारको यस्तो नीतिगत एकोहोरोपन अहिलेको सन्दर्भमा कहीँ पनि सफल हुने लक्षण देखिन्न ।

अवरुद्ध जनसंख्या वृद्धि
हरेक मुलुकको आर्थिक वृद्धिको मूल चालकशक्ति विद्यमान श्रमिक शक्ति अर्थात् जनता हो । व्यापारसँगै जनसंख्या वृद्धि भएन भने वृद्धि रोकिन्छ । स्वस्थ, शिक्षित, दक्ष जनशक्ति नभइकन कुनै पनि मुलुकले आर्थिक वृद्धि गर्न सम्भव हुन्न । क्रान्तिलगत्तै स्वस्थ, शिक्षित र दक्ष जनशक्ति निर्माण भएकै कारण चीन पछिल्ला चार दशकमा औसत १० प्रतिशत आर्थिक वृद्धि गर्न सफल भयो । तर चार दशक लामो एक–सन्तान नीतिका कारण अहिले चीनमा पनि वृद्धि गिर्दै गएको छ । त्यसैले नवोदित औद्योगिक राष्ट्रहरूले आफ्नो जनशक्तिलाई दक्ष बनाउँदै आफैले खपत गर्ने रणनीति अपनाएका छन् । नेपाल र फिलिपिन्स दुवै यसमा चुके । नेपाल सुरुमा स्वस्थ, शिक्षित र दक्ष जनशक्ति उत्पादनमै चुक्यो भने, पछिल्लो समय उत्पादित शिक्षित र दक्ष जनशक्तिलाई पनि मुलुकभित्रै अड्याइराख्न सकेन । परिणाम, अहिले एकतिहाइभन्दा बढी नेपाली जनशक्ति बाहिर छ ।
आर्थिक–सामाजिक सम्पत्तिको न्यायिक वितरण नगरिँदा नेपाली युवाले एकातर्फ सस्तो मूल्यमा विदेशमा शारीरिक श्रम बेचिरहनुपरेको छ भने, अर्कातर्फ लेखपढ गर्ने अवसर पाएकाहरू पनि पलायन नै रोजिरहेका छन् । अहिले मुलुकमा दक्ष, अर्धदक्ष र अदक्ष सबै खाले कामदारको खडेरी छ । दुई शताब्दी लामो अनुभवबाट के सिद्ध भएको छ भने, अदक्ष मजदुर निर्यातबाट आर्थिक समृद्धि, पारिवारिक सुरक्षा र दिगो विकास सम्भव छैन ।
यति बेला अति विकसित मात्र होइन, नवोदित औद्योगिक राष्ट्रहरूमा पनि जनसंख्या वृद्धिदर घट्दो छ । अंकटाडको हालैको तथ्यांक अनुसार, यो प्रवृत्ति नबदलिए सन् २०३९ सम्म जर्मनीको श्रमशक्ति ५.४ करोडबाट ४.७ करोडमा झर्नेछ । चीनमा ११.४ करोडले र जापानमा १.४ करोडले कमी आउने प्रक्षेपण छ । ४६ देशमा जनसंख्या वृद्धिदर घट्दो छ । श्रमशक्तिको घटाइकै अनुपातमा तिनको आर्थिक वृद्धि घट्ने निश्चित छ । नेपालमा श्रमशक्ति नघटे पनि मानवीय पुँजी विकास बहुसंख्यक जनताको हकमा हुन सकेको छैन । युद्धका लागि भाडाका सिपाही, दिगो र भरपर्दो पूर्वाधार विकासका लागि लागि शारीरिक श्रम र मनोरञ्जनका लागि ‘सेक्स ट्रेड’ लामो समयदेखि नेपाली श्रमशक्तिको बाह्य खपतको आधार एवं राष्ट्रिय आय आर्जनको मुख्य टेवा बनिरहेको छ, जुन कुनै पनि बेला अवरुद्ध हुन सक्छ । आम रूपमा वैदेशिक रोजगार र त्यसले उपलब्ध गराउने रोजगारी दिगो, राष्ट्रिय आय आर्जन र गौरवका विषय होइनन् । जनसंख्या घटिरहेका मुलुकहरूमा भोलि पनि रोजगारी त पाइएला, तर स्वतन्त्र सार्वभौम नागरिकको हिसाबले मर्यादित रोजगारी विदेशीहरूले उपलब्ध गराउनेछैनन् भन्ने रहस्य सरकारले बुझ्न सकेको छैन । तर सरकारको प्राथमिकतामा न रोजगारीमूलक औद्योगिकीकरण देखिन्छ, न त दक्ष कामदार निर्माणका लागि संस्थागत सुधार । बितेका दुई वर्षका क्रियाकलाप — खास गरी रोजगारी प्रवर्द्धन गर्ने र सामाजिक सुधार गर्ने मोडलको तयारी — तथ्यपरक र भरपर्दा थिएनन् । अब झन् हुने देखिँदैन । शिक्षाको त के कुरागराइ भो र ! दुई वर्षयता कुल बजेटको १० प्रतिशत अर्थात् कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.३० प्रतिशत विनियोजन गरिएको छ यो क्षेत्रमा । ज्ञातव्य छ, अधिकांश देशले आफ्नो मानव संसाधन वा दक्ष जनशक्ति तयार पार्न जीडीपीको ६ प्रतिशत खर्च गर्ने गरेका छन् । चीन र रूसले अहिले पनि औसत ७ प्रतिशत खर्च गरिरहेका छन् ।

उत्पादकत्व र सार्वभौम ऋण
नवउदारवादी पुँजीवादी अवधारणा आत्मसात् गरेपछि छोटो अवधिको लगानीमा अकुत नाफा आर्जन गर्न निजी क्षेत्र प्रोत्साहित हुन अस्वाभाविक थिएन । वित्तीय पुँजीको करमुक्त विस्तार नवउदारवादको उदारीकरणको अर्को मुख्य उद्देश्य थियो । विकासमा लगानीका नाममा अनुगमन र नियन्त्रणभित्र रहेको वित्तीय प्रणालीले फैलने मौका पायो । यो विस्तारले तेस्रो विश्वका राष्ट्रिय पुँजीपति वर्गको उन्मूलन गर्‍यो । उनीहरू उद्यम छोडेर व्यापारिक एजेन्ट बने । उपभोग्य होओस् वा पुँजीगत वस्तु उत्पादन र वितरण, सबै बहुराष्ट्रिय कम्पनीको जिम्मामा छोडियो । उद्यमीको आवरण ओढ्न ज्वाइन्ट भेन्चरमा बैंक, बिमा, रियल स्टेट, हेल्थ एन्ड एजुकेसन तथा सट्टाबजार नै लगानीका केन्द्र बने । जोखिम हुँदाहुँदै त्यहाँ उच्च नाफा आर्जन हुन सक्थ्यो । कर छलेर वा घुसखोरी गराएर आर्जित नाफाको पुँजी पलायन (साइफोनिङ) आम बन्दै गयो । राष्ट्रिय पुँजीपति र उच्चपदस्थ पदाधिकारीहरू दलाल पुँजीपतिमा रूपान्तरित हुँदै गए । यसले दिगो आर्थिक वृद्धिका लागि औद्योगिकीकरण वा कृषिको आधुनिकीकरणमा राष्ट्रिय लगानीलाई कमजोर बनाउँदै लग्यो र आम जनसमुदायलाई जीविकाका लागि अस्थायी रोजगारीमार्फत पुँजी निर्माणमा सहभागी हुने अवसर कमजोर बन्दै गयो । विश्वव्यापी यो प्रवृत्ति नेपालमा तीन दशकयता हावी भइरहेको छ ।
राज्यले उद्योग र व्यापार गर्ने होइन, न सहुलियत र सुविधा उपलब्ध गराउने हो । उत्पादन, उपभोग, व्यापार, विनिमय, पूर्वाधार निर्माण, कर, लगानी, बचत आदि तमाम क्षेत्र निजी क्षेत्रकै होÙ सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदिने मात्र हो । लोककल्याणकारी राज्यको अवधारणा मासेर अपनाइएको नवउदारवादी नीतिकै कारण विकसित र कम विकसित सबै खाले मुलुकका सरकारहरू सार्वभौम ऋणमा टुप्पीसम्म डुबिरहेका छन् र जनताका थाप्लामा ऋण र ब्याज एवं मूल्य अभिवृद्धिकर (एक प्रकारको
फ्ल्याट ट्याक्स) को भार बोकाइरहेका छन् । आम जनता ऋण र करको बोझ बोकेर धनीलाई झन् धनी बनाउन अभिशप्त छन् । सरकार धनीकै हितमा दौडिरहेको छ ।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ स्टिगलिज भन्छन्— अहिलेको विश्व तीन संकटबाट घेरिएको छ । जलवायु संकट, असमानताले निम्त्याएको संकट र लोकतन्त्रमा आएको संकट । साँच्चै भन्ने हो भने नेपाली राजनीतिको, अर्को अर्थमा लोकतन्त्रको संकट हाम्रो अपठन संस्कृतिभित्र जकडिएको छ । संविधानमा उल्लिखित लोकतान्त्रिक समाजवादको गुत्थी त्यही अपठनको भुइँकुहिरोभित्र रुमलिएर हराउने खतरा बढेको छ । अनि समृद्धि खोज्न नेपालीहरू हरेक दिन ऋणको जल, थल, हवाईमार्गबाट विदेसिन अभिशप्त छन् ।

दृष्टिकोण

खुद्रे चुनावको होलसेल पाठ

- सिपी अर्याल

 

‘क्वै बात छैन ! यदि जनताले हामीलाई मन पराएर कुर्सीमा आसीन गराए भने हामी त्यहाँ बसेर देश र जनताको सेवा गर्नेछौं । यदि जनताबाट हामीलाई त्यो हैसियत प्राप्त भएन भने हामी कुर्सीभन्दा तलतिर गजरामा बसेर, चटाईमा बसेर, धूलामा बसेर देश र जनताको सेवा गरिरहनेछौं ।’ उपनिर्वाचन परिणामको छेकोमा हार्ने नयाँ छिमलका र जित्ने पुराना डुहुरोका नेताका फुइँ सुन्दा निर्वाचनमा हारे आफ्नै दोषले, जिते जनताका कारण जितेको हुने आशयको नेता मदन भण्डारीको यो स्वादिलो भनाइ अचानक सम्झना आयो ।
चुनाव परिणामपछि नयाँ राजनीतिक दल हारको पीडाले छटपटिएका छन्Ù पुरानाचाहिँ जितको उन्मादले छिल्लिइरहेका छन् । नयाँ एक नेताले मत परिणामको अन्त्य–अन्त्यतिर
ट्वीट गरे— ‘...ऊँटले मरुभूमिमा हुने काँडे सिउँडीको डाँठ चपाउँछ । चपाउँदै गर्दा काँडाले घोचेर मुख
आफ्नै रगतले भरिन्छ । त्यै रगत पिएर तिर्खा मेट्छ । मजा लिन्छ । उपनिर्वाचन परिणामको मजा ।’ उनकै अर्को
ट्वीटमा मतदातालाई बिरामीको उपमा दिँदै उसकै कमजोरीले रोग बल्झेको आशय थियोÙ यद्यपि उनले आफूलाई उपचार गर्ने डाक्टर चाहिँ भन्न सकेनन् । त्यसै गरी उनैका अगुवा नेताले ट्वीट गरे, ‘निर्वाचन परिणामबाट आमजनताले भ्रष्टाचारीलाई पुनः अनुमोदन गरे ।’ अर्को काँटका नेताको कथन थियो— उनीहरूले चुनाव जित्थे, तर ‘केही विश्लेषक, विज्ञ, अनुभवी तथा शुद्धतावादीले वैकल्पिक राजनीतिलाई गिजोले ।’ वैकल्पिक शक्तिको शंखघोष गरिरहेका नेतैले यस्तो भन्नु बडो उदेकलाग्दो छ । ‘हामी नयाँ पुस्ताका हौं, नयाँ तरिकाले राजनीति गर्छौं’ भन्नेले मतदातालाई धारेहात लगाएको कत्ति सुहाउँदैन । पैतालाको घाउले हिँड्न कठिनाइ भा’ छ, जुत्ता फेरेर हुन्छ कहीँ ? हारेर पनि हाँसीहाँसी हिँड्न सकिन्छ भन्ने कस्केली नेता खेमराज पौडेलको चुनावी निष्ठा देखिसकियोÙ विद्या भट्टराईले पनि जित्नेहरू भावाडम्बरी नभएर मतदाताताप्रति सधैं निष्ठावान् रहनुपर्छ भनी देखाऊन् । निर्वाचनको पद्धति यही बनोस् ।
नयाँले ‘पुरानाको दोहोलो’ काढ्नुपर्दैन । पुरानाले पनि सधैंभरि सत्ताको हालीमुहालीमा रहन्छौं भन्ने ठानेर नयाँलाई आलाकाँचा ठानिरहन जरुरी छैन । छँदै छैन । ‘राजनीतिज्ञ र डाइपर बेलाबेला त्यही एउटै कारण फेरिरहनुपर्छ ।’ के यी दुवैले मार्क ट्वीनको यो वाणी सुन्या छैनन् ? पुरानाको पुस्तौंदेखिको बदमासी थाहै नपाएर ‘पुरानै’ लाई जिताएका होइनन् मतदाताले । किन जिताए ? लेखाजोखा विभिन्न कोणबाट हुन सक्छ । जस्तै— आधा हजार हाराहारी मत पाएर जमानतै जफत भएका ‘नयाँ’ लाई आलाकाँचा ठानेका होलान् आमजनताले वा अहिल्यै भरोसा गरिहाल्न नहुने लाग्यो कि त ! पुरानै नेतातर्फ पुरानो राजनीतिक आस्थाका कारण लहसिएका हुन् कि वा विकल्प त खोजेका छन् तर सिद्धान्तसहितको राजनीति गर्ने परिपक्व नयाँ दलको मात्रै वा यिनै पुरानाले ‘बिगारे बिगारून्, सपारे सपारून्’ भन्ने आशय पो हो कि ! वा, ‘यीमध्ये कसैलाई पनि भोट दिन्नँ’ भन्ने विकल्प नेपालको आमनिर्वाचनमा नभएर पनि हुन सक्छ, नयाँलाई नभई पुरानैलाई छानेको । सत्तासीनले यस्तो विकल्प आमनिर्वाचनमा अहिलेसम्म राख्न आँट नगर्नु सम्भवतः तिरस्कृत हुन्छु भन्ने डर पनि हो ।
ओबामा राष्ट्रपति हुनुभन्दा १३ वर्षअगाडि प्रधानमन्त्री भएका देउवा बाँचुन्जेलै सत्तासीन भइरहने आश गर्छन् । कार्यकाल सकीवरी ओबामा व्यक्तिगत जीवनको लयमा फर्किसकेÙ आमजनता भइसके । हाम्रा नेतालाई चाहिँ प्रधानमन्त्री पद लोकसेवा पास भएर पाइने गजक्कको स्थायी जागिरझैं हुनुपर्छ, जसको जीवनभर पेन्सन पनि आउँछ । पटकौंपटक प्रधानमन्त्री भएका नेपालका १०–१२ नेताले आफ्नो कार्यकालमा गरेका पाँच उत्कृष्ट नीतिनिर्माण र बसालेका थिति बुँदागत रूपमा बताउनुपरे परान जान्छ ! फेरि तिनैलाई किन फर्की–फर्की सत्ता चाहिएको ? ताज्जुब लाग्छ । यद्यपि आमनिर्वाचनले यिनै नेतालाई पुरस्कृत गरिरहन्छन् पनि । यो सोच्दा झन् ताज्जुब लाग्छ !
नेपालमा राजनीति सुरु गरेका जुझारु देखिने केहीले टुरिस्टझैं स्वाट्ट कुनै गाउँ पसेर ‘मम– चाउमिनभन्दा मकै–भटमास रोजम्’ भन्दैमा भोटको पहिरो उनैतिर गइहाल्दैन । जमानतै जफत हुने गरी जनताले नपत्याइदिएपछि मिहिनेत पुगेन भन्ने बुझून् न ! यद्यपि चियाचौपारीमा यी नयाँलाई अलि धेरै उडाइन्छ । त्यसो गर्नु हुँदैन । किनभने यिनीहरू कम्तीमा जनतामाझ गएर पुरानाले गतिलो
काम गरेनन्, हाम्रै पुस्तामा देश बनाउँछौं भन्ने आँट त गरिरहेका छन् ! यो प्रयास तालीयोग्य छ ।
नेपाली राजनीतिक दलको इतिहासले देखाउँछ के भने, कांग्रेस, (पूर्व) एमालेजस्ता दल अझै धेरै समय हावी हुनेछन् । जनस्तरमा जरो–किलो बुझेका छन् यिनलेÙ संगठन बलियो छ । गाउँठाउँमा केही परिहाले जनताले ‘लौन यस्तो पर्‍यो’ भन्ने पनि यिनैलाई । सबैभन्दा भ्रष्ट पनि यिनै, सधैं जितिरहने पनि यिनै ! हुन त सशस्त्र विद्रोहपछि पहिलो पटक आमनिर्वाचन लडेको माओवादीलाई पनि आमजनताले जिताए क्यारे ! विद्रोहीले त्यसरी अपत्यारिलो गरी चुनाव जित्नुमा, उसले १२ वर्ष जंगलमा गरेको ‘दुःख’ को समभावको हिस्सा पनि हो । त्यही एक पटक जितको पहिरो ल्याएपछि दोस्रो पटक हारको बाढी आयो, जुन अध्यक्ष प्रचण्डलाई पत्याइनसक्नुको ‘डेथ सरप्राइज’ भएको थियो । मतदाताको यस्तो ‘स्विङ भोटिङ’ ले देखाउँछ, आमजनता कांग्रेस, (पूर्व) एमालेजस्ता दलले राम्ररी काम नगर्दा तीबाट उन्मुक्ति चाहन्छन् भने अन्य परिपक्व विकल्पको, राजनीतिक दलको अभावमा उनै पुराना दललाई काँध थाप्न पनि पछि पर्दैनन् ।
२०७२ मा संविधान बनिसकेपछिको पहिलो स्थानीय चुनावमा काठमाडौंमा विवेकशील र साझा पार्टीका नेताले पाएको अधिकतम भोट र अहिलेको उपनिर्वाचनमा पाएको सम्पूर्ण भोटको चिन्तनीय लेखाजोखा दुवै दलले गर्लान् । अनि, एउटै–एउटै उद्देश्यसाथ राजनीतिमा आएका यी दल एक हुन किन सकेका छैनन् ? मतदातालाई बुझाऊन् पनि । यी दुइटालाई एउटैझैं मान्ने तप्का देशैभर छ । दूरगाउँका मतदाताले यिनीहरूको नाम अझै नसुनेको सत्य पनि नकार्न सकिँदैन । खगेन्द्र संग्रौलाले भनेको यो ‘खुद्रे चुनाव’ यी दलका लागि ‘होलसेल’ को पाठ बन्न सक्छ । जितेका पुरानाले पनि नयाँले धक्का दिँदै छन्, यिनको ब्यहोरा नसुध्रिए आमजनता सधैंभरि तिनको दास–मतदाता भइरहन सक्दैनन् भन्ने पनि बुझ्दै छन् ।
तीव्र विकासको जादुको छडी आफूले मात्रै चलाउन जान्ने गफ पेलिरहेका ‘नयाँ’ नेताले बुझून्— दुई वर्षमा ‘हामी परिपक्व भएम्’ भनेर देखाउने मौका थियो, संगठित हुने काइदाको अवसर पनि थियो । जुट्नुपर्ने बेला फुट्ने तर फेरि जुट्न पाएका बेला एकजुट पनि नहुने ! अनि जमानत जफत हुने गरी लज्जास्पद परिणाम आइदियो । सामाजिक सञ्जालको आत्मरतिमा रमाउँदै दोषजति ‘टेढो आँगन’ लाई दिँदा जगहँसाइ हुने नै भो !
विकसित मुलुकमा राजनीतिसँग सिद्धान्त जोडिन्छ भने नेपालजस्तो दक्षिण एसियाली मुलुकमा राजनीतिसँग सिद्धान्त कम भावावेग बढी । कम्युनिस्टको झन्डा बोकेर पचासौं वर्ष हिँडेकाको रवाफ चप्पलबाट सुरु भएर आलिशान बंगला, गाडी–घोडामा गएर सिद्धिएको छ । गैरकम्युनिस्ट वा डेमोक्र्याटहरू झन् तानाशाही प्रवृत्तितिर अल्झिइरहेका छन् । यसैबीच कतै स्थान बनाएका छन्, धर्मका आधारमा राजनीतिक लहरो चढेका मोदी–शासनकालका भक्त र आफैलाई भगवान् घोषणा गरेकाले पनि । राजनीतिमा आडम्बर पत्तासाफ नहुन्जेल यस्तो रवाफ रहनेछ ।
राणा र राजतन्त्र कालमा अस्तिका एमाले–कांग्रेस र हिजोका माओवादी ‘हामी फरक छौं’ भन्दै उदाएका थिए । यसको विश्वास जनतालाई दिन भलै उनीहरूलाई समय लाग्यो । यी तिनै दल पनि भए जसले नेपाली समाजलाई बडेमानका र सानातिना जंघार तार्दै यत्तिको अवस्थामा ल्याए । ऊ बेला ती पुरानाले ‘हामी फरक छौं’ भन्दै गरेको राजनीतिक पारामै नयाँबाट अब मतदाता पट्टिँदैनन् । ‘रिटायर्ड’ र ‘टु योङ’ दौंतरीको स्मार्ट क्लबभन्दा पनि सामाजिक सञ्जालको आत्मरतिभन्दा पर रहेको नेपाली समाजसुहाउँदो, सिद्धान्तमा अडिग दल भएर जनताको आत्माले मागेको राजनीति गर्न सक्छौं भन्ने जगमा उभिऊन् ती । किनभने विन्स्टन चर्चिलले भनेकै छन्, ‘पोलिटिक्स इज नट अ गेम बट अ सिरियस बिजनेस’ ।
अर्याल साउथ एसियन युनिभर्सिटी, नयाँ दिल्लीमा विद्यावारिधि शोधरत छन् ।
ट्वीटर : @CPAryal

Page 8
समाचार

सिकलसेल खुट्याउन नगरभरि रगत जाँच

- ठाकुरसिंह थारू

(बर्दिया) - थारू समुदायमा सिकलसेलको समस्या बढ्दो देखिएपछि बाँसगढी नगरपालिकाले त्यस समुदायका सबै व्यक्तिको रगत जाँच्न थालेको छ । एकबाट अर्को पुस्तामा सिकलसेल सर्न नदिन नगरपालिकाले प्रयोगशाला (ल्याब) सञ्चालन गरेर जाँच थालेको हो ।
गत वर्ष बाँसगढी–६, दमौली गाउँमा गरिएको नमुना जाँचबाट चिन्ताजनक अवस्था देखिएपछि रोकथाममा जुटेको नगरपालिकाले जनाएको छ । उक्त दमौली गाउँका थारू समुदायका १ हजार १ सय ५० जनाको रगत परीक्षण गर्दा १ सय ८५ जनामा संक्रमण पाइएको थियो । १ सय २० जनालाई पूर्ण निदानका लागि इलेक्ट्रोफोर्सिस जाँच गर्दा आठ जनामा सिकलसेल रोग र तीन जनामा थालसेमिया र ७८ जनामा सिकलसेल ट्रेड देखापरेको थियो । बाँसगढी नगरपालिकाको जनसंख्या ६५ हजार छ । तीमध्ये आधा थारू छन् । १७ लाख रुपैयाँमा मेसिन किनेर ल्याब सञ्चालनमा ल्याइएको हो । नगरले सिकल बिरामीको जाँच र उपचारका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । एक सय जनाको सिकल जाँचका लागि एक लाख रुपैयाँ खर्च लाग्छ । उक्त जाँचका लागि निजी ल्याबमा दुई हजारसम्म शुल्क तिर्नुपर्छ । सरकारले सिकलका बिरामीलाई निःशुल्क उपचार घोषणा गरेको वर्षौं हुँदा पनि कार्यान्वयन भएको छैन । नगरपालिका प्रमुख शालिकराम अधिकारीले ल्याब स्थापनापछि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले निःशुल्क सेवा पाउने बताए । ‘सिकलको पहिचान गर्न सकिए अर्को पुस्तामा नसर्न सावधानी अपनाउन सकिन्छ,’ उनले भने । भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले थारू समुदायमा सिकल समस्याका रूपमा देखिएकाले नियन्त्रण आवश्यक रहेको बताए । ‘युवायुवतीले समयमै सिकल टेस्ट गरेर बिहेबारी गर्ने हो भने अर्को पुस्तामा सर्दैन र यसले महामारीको रूप लिन पाउँदैन,’ उनले भने । रोगको पहिचान समयमै नहुँदा बिहेबारीपछि जन्मिने अर्को पुस्तामा सर्ने गरेको छ । यसअघि सिकल जाँचका लागि काठमाडौंको टेकु, नेपालगन्ज र धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो । रोगको पहिचान समयमै नहुँदा उपचार अभावमा बिरामीको मृत्यु हुने गरेको छ । मुलुकभरि दुई हजार सिकलका बिरामी उपचारकै क्रममा छन् ।
सिकलसेल भएका बुबाआमाबाट जन्मिएका छोराछोरीमा पनि सर्ने भन्दै कतिपयका बिहेबारी रोकिन थालेका छन् । कतिपय चिकित्सकले सिकलसेल भएका अभिभावकलाई सन्तान नजन्माउन सुझाएका छन् । सिकलसेलले औलो रोग लाग्ने सम्भावना कम गर्छ । लामो समयसम्म एउटै वातावरणमा बस्ने, आफ्नै समुदायभित्र बिहेबारी गर्ने र गर्मी ठाउँमा बस्नेहरूलाई यो रोग लाग्ने गरेको छ ।

Page 9
समाचार

पर्याप्त छैन सरकारी सहायता

अन्तर्राष्ट्रिय अपांगता दिवस
निजामती सेवा ऐनले अपांगता भएकालाई ५ प्रतिशत आरक्षणको व्यवस्था गरेको भए पनि सेवा प्रवेश सहज छैन
- गणेश राई,विद्या राई
१. राजधानीमा मंगलबार आफन्तको सहारामा बाटो काट्दै दृष्टिविहीन । २. डल्लुमा घडी मर्मत गर्दै गोविन्द दुलाल । उनले ३८ वर्षअघि दाहिने हात गुमाएका थिए । ३. ग्राभेल सडकमा सहयोगीका साथ ह्वीलचेयर
प्रयोगकर्ता । ४. जावलाखेलमा बाँसुरी बजाएर पैसा जुटाउँदै अपांगता भएका वृद्ध । तस्बिर ः कविन अधिकारी, सन्जोग मानन्धर र प्रथम विष्ट/कान्तिपुर

(काठमाडौं) - पाँचथरका २६ वर्षीय प्रज्वल योङहाङ स्नातक पढ्न काठमाडौं आएका थिए । ६ वर्षअघि उनी बौद्धमा बाइक चलाउँदै गर्दा पछाडिबाट माइक्रो बसले ठक्कर दियो । घटनामा उनको ज्यान त जोगियो, तर दुवै खुट्टा चल्दैनन् । दिसापिसाब भएको पत्तो पाउँदैनन् । ठमठमी हिँड्ने उनको जीवन नै फेरियो ।
सरकारले उनलाई अति अशक्त अपांगअन्तर्गत परिचयको ‘नीलो कार्ड’ दिएको छ । मासिक १६ सय रुपैयाँ भत्ता पाउँछन् । यो भत्ताले औषधि उपचारसमेत धान्दैन । औषधि र सरसफाइमा मासिक १० हजार जति खर्च लाग्छ । साँगामा डेरा लिएर बस्दै आएका उनको मासिक कोठा भाडा तीन हजार रुपैयाँ छ । त्यसो त साँगाकै स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा काम पनि गर्छन् । मासिक १६ हजार कमाइ हुन्छ । यसले औषधि उपचार, सरसफाइ, कोठाभाडा र खाना खर्च धान्न हम्मे पर्छ । ‘सरकारले भत्ताको साटो निःशुल्क औषधि उपचार र स्वरोजगारको व्यवस्था गरिदिए उचित हुन्थ्यो,’ उनको आग्रह छ । खर्च जुटाउन नसकेकै कारण स्नातक पढ्ने चाहना पनि रोकिएको छ उनको । पाँचथरमा आमाबाबु, एक दिदी र दुई भाइबहिनी छन् । ‘छोरोले पढोस् भनेर काठमाडौं पठाउनुभएको थियो, दुर्घटनामा परेर अपांग भएँ, पढ्ने चाहना त अझै छ, तर खर्च छैन,’ उनले दुखेसो पोखे ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीका अनुसार प्रज्वलजस्ता देशभर पूर्ण अशक्त अपांग (रातो कार्ड) ४६ हजार ८ सय ३ र अति अशक्त अपांग (नीलो कार्ड) ८० हजार ९ सय ४१ गरी १ लाख २७ हजार ७ सय ४४ लाभग्राही छन् । रातो कार्ड पाएकाले मासिक तीन हजार र नीलो कार्ड पाएकाले मासिक १६ सय भत्ता पाउँछन् ।
यो सहयोग पर्याप्त नभएको मेरुदण्डको पक्षघात पीडित गोरखाका ३९ वर्षीय ऋषि ढकाल सुनाउँछन् । उनको १६ वर्षअघि मलेसियामा काम गर्दैगर्दा दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएको हो । अहिले उनले पनि मासिक १६ सय रुपैयाँ भत्ता पाउँदै आएका छन् । अपांगता भएका व्यक्तिहरूको २८ औं अन्तर्राष्ट्रिय दिवस मंगलबार मनाइरहँदा आफ्नो अधिकारबारे सबैतिर सचेतना पुग्नसमेन नसकेको उनले बताए ।
राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतका अनुसार अपांगता भएका धेरैजना पहिचान र गणनामा छुटेका छन् । राष्ट्रिय जनगणना ०६८ को तथ्यांकअनुसार देशको कुल जनसंख्याको १.९४ प्रतिशत अर्थात् ५ लाख १३ हजार ३ सय २१ अपांगता भएकाहरू छन् । महासचिव बस्नेत भन्छन्, ‘अपांगता भएका व्यक्तिमध्ये ५० प्रतिशत जतिसँग मात्रै परिचयपत्र छ, अरू छुटेका छन् ।’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ सम्ममा अपांगता भएकामध्ये २ लाख ३५ हजार १ सय ३६ जनालाई अपांगता परिचयपत्र दिइएको जनाएको छ । ‘अब सबै स्थानीय तहले परिचयपत्र दिनुपर्ने व्यवस्था छ,’ मन्त्रालयको अपांगता अधिकार प्रवर्द्धन शाखाका उपसचिव पशुपति महतले भने, ‘त्यो के कति काम भइरहेको छ भन्ने जानकारी संकलन भइरहेको छ ।’ अपांगता भएका अधिकांश बालबालिका शिक्षको पहुँचबाहिर छन् । ह्युमन राइट्स वाचको सन् २०११ को अध्ययनअनुसार नेपालमा अपांगता भएका बालबालिकाको संख्या दुई लाखभन्दा बढी छ । युनिसेफका अनुसार ५ देखि १२ वर्ष उमेरका कुल अपांगता भएका बालबालिकाको संख्यामध्ये ३० प्रतिशत अझै विद्यालयभन्दा बाहिर छन् । खगेन्द्र नवजीवन विशेष शिक्षा माविका प्रधानाध्यापक राघव दवाडीका अनुसार शैक्षिक संस्थाका संरचना अपांगता भएका बालबलिकाका लागि सुविधा हुने नभएकाले पठनपाठन गर्न समस्या छ । ‘पढाइका लागि संरचना, पुस्तक, शिक्षक, पारिवारिक वातावरण मैत्रीपूर्ण हुनुपर्छ, तर हाम्रा शैक्षिक संस्थाहरू त्यस्ता छैनन्,’ उनले भने, ‘अपांगता भएका शिक्षक पनि सबलांग शिक्षकका तुलनामा विभेदमा परेका छन् ।’
महासंघका महासचिव बस्नेतका अनुसार सरकारी, अर्धसरकारी तथा निजी क्षेत्रका जागिरमा अपांगता भएका मानिसको सहभागिता एकदमै न्यून छ । निजामती सेवा ऐनले अपांगता भएकालाई ५ प्रतिशत आरक्षणको व्यवस्था गरेको भए पनि मैत्रीपूर्ण व्यवस्था नहुँदा सेवा प्रवेश सहज छैन । ‘निकै संघर्ष र प्रयासले छिटपुट मात्रैले निजामती सेवामा प्रवेश पाएका छन्, तर सेना र प्रहरी जंगी सेवामा अपांगता भएकालाई भर्ना गर्ने व्यवस्था छैन, कार्यरतमध्ये दुर्घटना परेकालाई सेवा दिइएको छ ।’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती सेवा विधेयकको मस्यौदामा अपांगता भएका व्यक्तिको अधिकारलाई कटौती गरेकोमा भने महासंघले आपत्ति जनाएको छ । अपांगता भएकालाई कानुनी व्यवस्थामा हैसियत दिइए पनि व्यावहारिक रूपमा सरकार उदार नबन्दा समस्या भएको छ । ‘अरू त अरू सामाजिक सोचका कारण विभेद खेप्नुपरिरहेको छ,’ बहिरा महासंघ नेपाल प्रदेश १ का अध्यक्ष सीताराम ओझाले भने, ‘अपांगले योग्य र शिक्षित नागरिक बन्न धेरै तगारा छन् । कतै पनि उसलाई चाहिने व्यवस्था छैन ।’ सरकारले सुरक्षा तथा स्वास्थ्य सेवासहितको सामुदायिक आवास सुविधा, असहाय बालबालिका तथा परिवारबाट त्यागिएका अपांगता भएकालाई आवासको व्यवस्था र बिमा सुविधा दिने भनेको छ । तर अहिलेसम्म त्यस्तो सुविधामा भने उनीहरूको पहुँच बढेको छैन ।
सन् २०१६ मा ५९ वटा जिल्लामा गरिएको जीवनस्तर अध्ययनको प्रतिवेदनअनुसार सांगहरूको तुलनामा अपांगता भएकाहरूको सेवा सुविधामा पहुँचको खाडल ७० देखि ९० प्रतिशत छ । विभिन्न सहायक सामग्रीहरू पाउनुपर्ने अवस्थाका हरेक आठ जनामध्ये एक जनाले मात्र सहायक सामग्री पाएका छन् ।
अपांगता भएका महिलाहरू अधिकांश यौनहिंसा र घरेलु हिंसाको अधिक सिकार हुने गरेका घटना छन् । अपांग महासंघकी उपाध्यक्ष रमा ढकालले अपांगता भएका महिलालाई हेर्ने सामाजिक दृष्टिकोण नकारात्मक भएकाले दुर्व्यवहार र हिंसाको सिकार बन्नु परिरहेको बताउँछिन् । ‘अपांगता भएको महिलाको साथमा कोही छैनन्, केही गर्नै सक्दैनन्, आर्थिक अवस्था कमजोर हुने भएकाले प्रलोभनमा पारेर यौनहिंसा गर्छन्,’ उनी भन्छन् । महासंघले सातै प्रदेशमा महिलामाथि हुने हिंसाको अध्ययन गरेको छ । त्यसले पनि अपांगता भएका महिलाहरू यौनजन्य र घरेलु हिंसामा परेको देखाएको उनले बताइन् । अपांगता भएका महिलाहरूले प्रजनन स्वास्थ्यको हक उपभोग गर्न पाएका छैनन् । यूएनडीपीले सन् २०१५ मा गरेको अध्ययनअनुसार ४३ प्रतिशतमात्र अपांगता भएका महिलाहरूले वैवाहिक जीवन बिताइरहेका छन् जब कि अपांगता भएका पुरुषहरूको हकमा यो संख्या ७५ प्रतिशत छ ।
राष्ट्रिय सभामा अपांगता भएका मानिसहरूको प्रतिनिधित्व गरिरहेका नेकपा सांसद महेशकुमार महराले बनेका नीति, कानुन अपांगमैत्री नहुँदा चुनौती भएको बताए । ‘बाहिर जे गुनासा गरिन्थ्यो, संसद्मा आएपछि सहज हुन्न रैछ,’ उनले भने, ‘अपांगतामैत्री कानुन बनाउन संशोधन हाल्यो भने पनि सम्बोधन हुँदैन ।’ सामाजिक संरचनामा आधारित राज्य व्यवस्थाकै कारण संसद्मा आफ्नो प्रतिनिधित्व पर्याप्त नभइरहेको उनले बताए ।
‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ ले अपांगतालाई दस किसिममा वर्गीकरण गरेको छ । जसमा शारीरिक अपांगता, दृष्टिविहीन, सुनाइसम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइसम्बन्धी, मानसिक र मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव, अटिजमसम्बन्धी र बहुअपांगता पर्दछ । दृष्टिसम्बन्धी अपांगतालाई दृष्टिविहीन, न्युन दृष्टिविहीन र पूर्ण दृष्टिविहीन भनेर छुट्याइएका छन् । सुनाइसम्बन्धी अपांगतामा बहिरा र सुस्त श्रवण पर्दछ ।
अपांगता अधिकार नियमावली चाँडै ः मन्त्री गुरुङ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली मन्त्रिपरिषद्ले चाँडै पारित गर्ने जानकारी दिए । उनले अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार राजधानीमा प्रभातफेरी आयोजना गरिएको समारोहमा उक्त जानकारी गराएका हुन् ।
दुई वर्षअघि ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ जारी भए पनि हालसम्म नियमावली बनेको छैन । ‘मन्त्रालयले नियमावली जारी गरेसँगै अपांगतासम्बन्धी राष्ट्रिय नीति तथा कार्यक्रम बनाएर लागू गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘अपांगतासम्बन्धी राष्ट्रिय प्रतिवेदन निर्माण र अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्री स्वदेशमै उत्पादन र प्रवर्द्धन गर्ने मन्त्रालयले लक्ष्य राखेको छ ।’

- अपांगता भएका व्यक्तिको संख्या — ५,१३,३२१ (०६८ को जनगणनाअनुसार कुल जनसंख्याको १.९४ प्रतिशत)
- संघीय संसद्को प्रतिनिधिसभामा — ०
- राष्ट्रिय सभामा — ४ जना (शारीरिक अपांगता भएका मात्र)
- प्रदेश र स्थानीय तहमा —०
- हरेक ८ मा १ जनाले मात्र सहायक सामग्री पाएका छन्
- अपांगता परिचयपत्र — ४९ प्रतिशत (कुल अपांगता भएका व्यक्तिहरूको संख्यामा)

समाचार

पालिकाले फर्काए शिक्षक

- कान्तिपुर संवाददाता

डोटी (कास)– रिक्त दरबन्दीमा आफैंले शिक्षक नियुक्त गरिसकेको जनाउँदै स्थानीय तहले नयाँ शिक्षकहरूलाई हाजिर हुन दिएका छैनन् ।
पूर्वीचौकी गाउँपालिकाले ५ र सायल गाउँपालिकाले एकजना आयोगबाट आएका शिक्षकलाई हाजिर हुन नदिएको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत रामदत्त जोशीले बताए । आयोगको परिपत्रअनुसार शिक्षा इकाईले पूर्वीचौकी गाउँपालिकामा २० जना पठाएकोमा १५ जनाको मात्रै पदस्थापन गरेको छ । सर्लाहीका उमेश राय, डडेलधुरा पर्शुरामका भीमबहादुर कामी, कञ्चनपुर बेलौरीका जयराम सुनार, सप्तरी बोदे बर्साइनका टेकनारायण साह, कपिलवस्तु विजयनगरका दिनेशकुमार चौधरी र वीरेन्द्र यादवलाई भने पूर्वीचौकी गाउँपालिकाबाट फिर्ता पठाएको छ । सायल गाउँपालिकाले पर्सा कालिकामाई गाउँपालिकाका विशालराज गिरीलाई फिर्ता पठाएको छ । शिक्षा इकाईले विद्यालय व्यवस्थापनको अधिकार स्थानीय तहहरूलाई भए पनि शिक्षा ऐनअनुसार भर्ना भने शिक्षक सेवा आयोगले मात्र लिन पाउने शाखा अधिकृत जोशी बताउँछन् । तर पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घ बोगटीले भने संविधानले आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने दाबी गर्छन् । गाउँपालिकाले पारित गरेको शिक्षा ऐनमा मातहतका विद्यालयमा कुनै कारणले दरबन्दी रिक्त भए गाउँपालिकाले नियुक्त गर्ने
प्रावधान छ ।
योग्यताक्रमभन्दा पनि स्थानीयलाई नियुक्ति दिएको जयराम सुनार बताउँछन् । गाउँपालिकाले भने मापदण्डअनुसार नै पदस्थापन गरिएको दाबी गरेको छ । कात्तिक २१ मा डोटी आइपुगेका उनीहरूलाई शिक्षा विकास तथा समन्वय इकाईले ढिलासुस्ती गरी मंसिर ८ गते मात्र पूर्वीचौकी गाउँपालिकाका लागि नियुक्ति दिएको थियो । नियुक्ति बुझेर उनीहरू हतारहतार गर्दै गाउँपालिका कार्यालय पुगेका थिए । गाउँपालिकाले ११ गते आउन भन्यो । उक्त दिन पुग्दा पदस्थापन गर्न नसक्ने भन्दै हाजिर हुन नदिएको उनीहरूले बताए ।

समाचार

जापानको सीप परीक्षामा सबै फेल

- होम कार्की

(काठमाडौं) - जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए । तीमध्ये भाषा परीक्षामा मात्र एक जना उत्तीर्ण भएका छन् ।
नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप परीक्षणमा उत्तीर्ण हुनुपर्छ । अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउन्डेसनले परीक्षा लिएको थियो । कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो भन्ने प्रस्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ ।
जापानले मन्त्रालयलाई उपलब्ध गराएको प्रारम्भिक सूचनाअनुसार भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए । यसबाट परीक्षामा सहभागीका लागि लक्की ड्रबाट एक हजार जना छानिएका थिए । यसबाट पनि सामान्य भाषा परीक्षाका लागि भने ५ सय ९ जना छानिएका थिए । त्यसमध्ये ४ सय ९७ जनाले परीक्षा दिएका थिए । यसमा ५६ जना मात्रै उत्तीर्ण भए । त्यसको पहिलो लटमा नर्सिङ केयरको सीप परीक्षणमा १५ जना र नर्सिङ भाषा परीक्षामा १२ जना सहभागी थिए । श्रम मन्त्रालयले यो प्रणालीप्रति काठमाडौंस्थित जापानी दूतावाससमक्ष असहमति जनाइसकेको छ । ‘लक्की ड्रबाट छान्दा योग्य प्रशिक्षार्थी पर्दैनन् । यो उपयुक्त र वैज्ञानिक छैन भनेर हामीले दूतावाससमक्ष भनिसकेका छौं,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘यो प्रणालीको विकल्प खोज्नुपर्छ ।’
लाखौं रुपैयाँ खर्चिएर तयारीमा जुटेकाहरूले परीक्षामा सहभागी हुन पाउनुपर्ने श्रम मन्त्रालयको अडान छ । जापानले भने सहभागीको संख्या अत्यधिक भएकाले सबैलाई परीक्षामा सहभागी गराउन नसकिएको बताउँदै आएको छ । ‘यो सुरुवात हो । आवश्यक परे परिवर्तन गर्न सकिनेछ,’ जापानी पक्षले भनेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम समझदारी कार्यान्वयनमा देखिएका अस्पष्टतालाई हटाउन नेपालका लागि जापानी राजदूत मासामिची साइगोलाई आग्रह गरेका छन् । ‘भाषा परीक्षाको प्रणालीमा पनि परिवर्तन गर्न आवश्यक छ,’ मंगलबार मन्त्रालयमा साइगोसँगको भेटमा उनले भने ।
जापानको आवश्यकताअनुसार भाषा र दक्ष जनशक्ति उत्पादनका लागि जापानले नेपालमा ट्रेनिङ सेन्टर स्थापना गर्नसमेत उनले आग्रह गरे । जापानले सन् २०२० का लागि काठमाडौंमा जनवरी ७–८, १४–१६, २१–२३ र २८–२९ तारिखमा भाषा परीक्षा लिने जानकारी दिएको छ ।

समाचार

मलेसियाबाट ३१ हजार कामदार माग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मलेसियामा दुई महिनामै ३१ हजारभन्दा बढी नेपाली कामदारको माग भएको छ । झन्डै सात महिना रोकिएको श्रमिक पठाउने प्रक्रिया खुलेपछि मलेसियाबाट नेपाली कामदारको ठूलो संख्यामा माग भएको हो ।
मलेसियास्थित नेपाली दूतावासले दुई महिनामा ३१ हजारभन्दा बढी कामदारको माग प्रमाणीकरण गरेको जनाएको छ । दूतावासले मंगलबार विज्ञप्ति जारी गरी असोज तेस्रो सातादेखि मंसिर १४ सम्मको अवधिमा ३१ हजार २ सय १ श्रमिक माग भएकामा ९ सय ६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरिएको जनाएको छ । मलेसियाबाट औद्योगिक क्षेत्रमा १७ हजार १ सय १६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) मा १० हजार १ सय ८३, कृषि क्षेत्रमा एक हजार ४ सय ७५, ‘प्लान्टेसन’ मा एक हजार ३ सय ९७ र निर्माण क्षेत्रमा एक हजार ३० श्रमिकको माग भएको विज्ञप्तिमा उल्लेख छ । ती मागपत्र प्रमाणीकरण गरी विभागमा पठाइएको दूतावासले जनाएको छ । मागपत्र प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको समेत दूतावासले विज्ञप्तिमा छ ।
स्वास्थ्य परीक्षण र भिसा प्रोसेसिङका क्रममा नेपाली ठगिँदै आएको भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले झन्डै सात महिनासम्म मलेसियामा कामदार पठाउन रोकेका थिए । मलेसिया र नेपालबीच पटकपटक भएको वार्तामा स्वास्थ्य परीक्षण र भिसा प्रोसेसिङमा नेपाली कामदार नठगिने प्रत्याभूति गर्ने सहमति भएपछि असोज तेस्रो सातादेखि मलेसियाको रोजगारी खुलेको हो ।
नेपाल र मलेसियाबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीअनुसार मलेसियाली सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिस गर्न थालिएको पनि दूतावासले जनाएको छ ।

समाचार

बलात्कार आरोपमा पक्राउ

- कान्तिपुर संवाददाता

रामेछाप (कास)– रामेछापको उमाकुण्ड गाउँपालिका–३ मा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कक्षा ७ पढ्ने बालिकालाई बलात्कार गरेको आरोपमा संगीत सुनुवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले बताए । ४० वर्षीय सुनुवार नेकपाका स्थानीय नेतासमेत हुन् ।
सुनुवारले मंसिर २ गते ती बालिकालाई बलात्कार गरेका थिए । बालिकाले बाबुआमाको डरले घटनाबारेमा कसैलाई भनेकी थिइनन् । दुखाइ धेरै भएपछि आमालाई घटनाबारे भनेपछि बलात्कारको कुरा बाहिर आएको यादवले बताए ।

Page 10
विदेश

असर कम गर्ने उपाय खोजी

जलवायु परिवर्तन
- अब्दुल्लाह मियाँ

(म्याड्रिड, स्पेन) - जलवायु परिवर्तनका कारण भविष्यमा निम्तिन सक्ने चुनौती न्यून गर्ने उपाय पहिचानका लागि विश्वभरका सरकारी प्रतिनिधि, राजनीतिज्ञ, कूटनीतिज्ञ, विशेषज्ञ र अनुसन्धानकर्ता म्याड्रिडमा भेला भएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) को २५ औं सम्मलेन (कोप–२५) मा जलवायु परिवर्तनको मुख्य कारक मानिने हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुक तथा त्यसको मार खेप्ने नेपालजस्ता अल्पविकसित वा अति कम विकसित (एलडीसी) मुलुकका
प्रतिनिधिसमेत सहभागी छन् ।
नेपालसहित १ सय ९७ मुलुक महासन्धिका पक्षराष्ट्र हुन् । सन् १९९४ मा महासन्धिमा हस्ताक्षर गरेको नेपालले त्यसयता हरेक वर्ष सम्मेलनमा सहभागी हुँदै आएको छ । नेपाललगायत सबै पक्षराष्ट्रका प्रतिनिधि सम्मेलनमा सहभागी छन् । त्यसैगरी, विभिन्न दातृ निकाय, जलवायु परिवर्तनका मुद्दामा क्रियाशील संस्था, अनुसन्धानकर्ता, वैज्ञानिक, युवालगायतको पनि सम्मेलनमा उल्लेख्य सहभागिता छ ।
सोमबार सुरु सम्मेलनमा मंगलबारदेखि प्रतिनिधि र वार्ताकारहरू छलफलमा जुटेका छन् । यो सम्मेलन चिलीको सान्टियागोमा आयोजना गर्ने तय भए पनि विकसित राजनीतिक गतिरोधका कारण सम्मेलन स्पेनमा गरिएको हो । म्याड्रिड सम्मेलनको अध्यक्षता भने सम्मेलनभर चिलीले गर्नेछ । पोल्यान्डले सोमबार नै चिलीलाई अध्यक्षता हस्तान्तरण गरेको हो ।
पेरिस सम्झौताको दफा ६ मा रहेको व्यवस्था कार्यान्वयन गर्न सबै क्रियाशील हुनुपर्ने मुद्दालाई सम्मेलनका सबै सहभागीले जोड दिएका छन् । सन् २०१५ मा फ्रान्समा भएको पेरिस सम्झौतालाई अहिलेसम्मकै जलवायु परिवर्तन न्यूनीकरणका लागि कोसेढुंगा मानिन्छ ।
सम्झौताको दफा ६ अनुकूलनका कार्यहरूमा उच्च महत्त्वाकांक्षा हासिल गर्न र दिगो विकास तथा वातावरणीय स्वच्छता वृद्धि गर्न आफ्ना राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी) को कार्यान्वयनमा स्वेच्छिक सहकार्यको मार्ग अवलम्बन गर्ने उल्लेख छ । त्यसका साथै दिगो विकासलाई बढावा दिँदै हरितगृह ग्यास उत्सर्जन न्यून पार्ने, सार्वजनिक तथा निजी निकायबाट भएको हरितगृह ग्यास उत्सर्जनको न्यूनीकरणमा हुने सहभागितालाई प्रेरित तथा सहजीकरण गर्ने र जलवायु परिवर्तनका कारण जोखिममा परेका विकासोन्मुख पक्षराष्ट्रलाई अनुकूलन खर्च बहन गर्न सहयोग पुर्‍याउनेलगायत उल्लेख छ ।
नेपालले नगण्य मात्रामा अर्थात् वार्षिक ०.००२७ प्रतिशत मात्र हतिरगृह ग्यास उत्सर्जन गर्छ, तर नेपाल जलवायुजन्य जोखिमका हिसाबले चौथो स्थानमा पर्छ । जलवायु परिवर्तनका कारण हिमाल पग्लने, हिमतालको आकार बढ्ने, हिमनदी पग्लने क्रममा वृद्धि हुनुका साथै समग्र मनसुन गतिविधिमै बदलाब आएको छ । त्यसको प्रत्यक्ष असर जनजीवनमा परेको छ ।
सबभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक चीन हो । चीनपछि उच्च हतिरगृह ग्यास उत्सर्जन गर्ने अमेरिकाले पेरिस सम्झौताबाट अलग भएको घोषणा गरिसकेको छ । अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनका कारण निम्तिएका समस्यालाई
अस्वीकार गर्दै आएका छन् ।

विदेश

फिलिपिन्समा आँधी, २ लाख विस्थापित

- एजेन्सी

मनिला – फिलिपिन्सको लुजन टापुमा मंगलबार आएको भीषण आँधीका कारण कम्तीमा २ लाख मानिस विस्थापित भएका छन् । अधिकारीका अनुसार ‘कमुरी’ आँधीका कारण लुजन टापुको दक्षिणी भेगमा भारी वर्षा भएको छ । आँधीपछि शनिबार सुरु भएको दक्षिण–पूर्वी एसियाली खेल प्रभावित भएको जनाइएको छ । अधिकारीका अनुसार केही खेल रद्द गरिएका छन् भने केहीका लागि नयाँ तालिका सार्वजनिक गरिएको छ ।
आँधीका कारण राजधानीस्थित मनिला विमानस्थल १२ घन्टा बन्द भएको थियो । सेबु द्वीपबाट मनिला विमानमा यात्रा गरेकी क्यानाडेली पर्यटकले आफ्नो यात्रा निकै पीडादायी भएको बताइन् । २३ वर्षीया कन्सट्यान्स बेनोइटले भनिन्, ‘हवाईजहाजमा यात्राका क्रममा हुने बिसन्चो के हो मैले पहिलोपटक अनुभव गरेँ ।’ सोर्सोगन राज्यमा कमुरी आँधीका कारण कम्तीमा १ सय ५५ किलोमिटरको गतिमा हावाहुरी आएको भए पनि बेलाबखत हुरी गति बढेर २ सय ३५ किलोमिटरसम्म पुगेको जनाइएको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा आँधी आउने गर्छन् ।

Page 11
कला र शैली

अस्ट्रेलिया दोस्रो घर

'नेपथ्यले अस्ट्रेलियामा जुन अलग माया, प्रेम र सम्मान पाइरहेको छ, त्यो अतुलनीय छ'
- नारायण खड्का

(अस्ट्रेलिया) - नेपथ्यले २८ वर्षको सांगीतिक करिअरमा दर्जनौं देशमा सयौं कन्सर्ट गर्‍यो । अहिलेसम्म लाखौं स्वदेशी तथा विदेशी दर्शकसामु संगीत प्रस्तुत गरिसकेको नेपथ्यलाई माया गर्नेको कमी छैन तर पनि सन् २०१२ मा अस्ट्रेलियाको सिड्नीस्थित टाउनहलमा आयोजित कन्सर्टले उनीहरूको सांगीतिक करिअरमा जुन पखेटा थपिदियो, त्यसले संसारभरि संगीतमा उडान भर्ने बाटो खोलिदियो । त्यसैले पनि हुन सक्छ, नेपथ्यले अस्ट्रेलियालाई आफ्नो दोस्रो घर ठान्छ र अहिले पाँचौं सांगीतिक शृंखलाका क्रममा अस्ट्रेलियामा छ ।
‘वास्तवमा भन्ने हो भने ७ वर्षअघिको त्यो सिड्नीको कन्सर्ट नेपथ्यको सांगीतिक करिअरका लागि टर्निङ पोइन्ट नै भयो,’ आफ्नो पाँचौं अस्ट्रेलिया टुर र संगीतबारे कान्तिपुरसँग कुराकानी गर्दै नेपथ्यका लिड गायक अमृत गुरुङले खुलाए । ‘बेलायतको वेम्बलीमा भएको कन्सर्ट पनि त्यही सांगीतिक कार्यक्रमको देन हो भन्ने लाग्छ ।’ अस्ट्रेलियामा जुन अलग माया, प्रेम र सम्मान नेपथ्यले पाइरहेको छ, उनलाई त्यो अतुलनीय भएको लाग्छ । ‘नेपाल हाम्रो पहिलो घर हो भने अस्ट्रेलिया हाम्रा लागि दोस्रो घर हो किनकि यहाँ जुन माया र स्नेह पाउँछौं, त्यो पृथक् छ ।’ उनी त्यसैले पनि अस्ट्रेलियामा नेपथ्यको सांगीतिक यात्रा पाँचौं पटकसम्म पुगिसकेको ठान्छन् ।
‘लोकरक’ लाई नेपाली सांगीतिक विधामा स्थापित गराएको नेपथ्यले यसपटक यहाँका ६ राज्यका विभिन्न अन्तर्रास्ट्रियस्तरका कार्यक्रमस्थलमा संगीत प्रस्तुत गर्दै छ । १२ जनाको सांगीतिक समूहसहित डेढमहिने यात्राका लागि यहाँ आइपुगेको नेपथ्यले ब्रिसबन र डार्बिनमा कार्यक्रम गरिसकेको छ भने एडिलेड, तास्मानिया, सिड्नी र मेलबर्नमा हुने कार्यक्रमको तयारीमा जुटिसकेको छ । यस वर्ष पनि नेपथ्यले आफ्नै परम्परागत लोकरक शैलीमै दर्शकलाई मनोरञ्जन दिइरहेको छ भने दुईवटा नयाँ गीत पनि रिलिज गर्दै छ । ‘हामीले जे गर्ने सबै दर्शकश्रोताको चाहना र मनअनुसारै गर्ने हो किनभने दर्शकश्रोताको चाहना बुझ्न सकिएन भने कुनै पनि संगीत सर्जकले आफूलाई सफल भन्न सक्तैन,’ गुरुङ सुनाउँछन् । नेपथ्यको संगीत र प्रस्तुत गर्ने शैली नेपाली माटो सुहाउँदो, शब्द संगीतमा ठेट नेपालीपना भएको र संस्कृति उजागर गर्ने भएकाले समेत दर्शकहरूले मन पराइदिएको उनी ठान्छन् । विदेशमा रहेका नेपालीले खोजेको नेपालीपनसहितको सांगीतिक भाव नेपथ्यमा पाउने भएकाले विदेशमा धेरै माया पाइएको गुरुङ सुनाउँछन् । उनी आफूहरूले सिर्जना गर्ने संगीत भूगोल सुहाउँदो, भ्रमण, संगत र अध्ययनपछि निकालिएको धुन हुने भएकाले समेत आफूहरू नेपाली जनमानसमा भिज्न सकेको हुन सक्ने अड्कल गर्छन् ।
नेपथ्यको आफ्नोपनलाई जीवित राख्नकै लागि गुरुङले नेपालको बझाङबाहेकका सबै जिल्ला घुमिसकेका छन् । उनी अहिले बसिरहेको दक्षिण अस्ट्रेलियाको अल्डिङ्गा विचबाट समेत दैनिक २० किलोमिटरसम्म पैदल यात्रामा निस्कछन् । ‘म जहाँ जान्छु हाम्रो नेपाली संगीतका केही न केही नयाँपन दिने मौलिकताको खोजीमा हुन्छु । उनी आफ्नो यात्राबारे प्रस्ट पार्छन् । उनी नेपथ्यले संगीत मात्र प्रस्तुत गर्नेभन्दा पनि दर्शकहरूको आत्मसन्तुष्टिलाई समेत ध्यान दिने गरेको दाबी गर्छन् ।
‘नेपाली संगीत क्षेत्रमा झन्डै ३० वर्ष बिताएका छौं र सम्पूर्ण नेपालीले राखेको अलगपनको संगीतको तृष्णा पूरा गर्ने प्रयास गरिरहेका छौं,’ गुरुङ भन्छन्, ‘त्यसैले पनि हुन सक्छ, अस्ट्रेलियामा नेपथ्यले अहिलेसम्म जुन किसिमका ठूला र नाम चलेका कार्यक्रमस्थल र दर्शक संख्या पाएको छ त्यो अन्य नेपाली सांगीतिक समूह र गायकहरूले विरलै पाउने गरेका छन् ।’

कला र शैली

लन्डनमा नेपाल चिनाउँदै

- नवीन पोखरेल
मिस वर्ल्ड प्रतियोगितामा भाग लिन बेलायत पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठ । तस्बिर ः शंकर श्रेष्ठ/कान्तिपुर टिभी

(लन्डन) - आगामी साता हुने ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिस्पर्धा गर्न १ सय २५ मुलुकका सुन्दरी यतिखेर लन्डनमा छन् । बन्द प्रशिक्षण (कोरियोग्राफी), विभिन्न विधाका प्रतियोगिता र नयाँनयाँ ‘आइकोनिक’ ठाउँ घुमघाम । विगत १२ दिनदेखि यसरी नै बितेको छ उनीहरूको दैनिकी । त्यही भीडमा मिस नेपाल अनुष्का श्रेष्ठ भने नेपाल चिनाउने प्रयत्नमा छिन् । विश्वभरका साथी बनाइरहेकी छन् र तिनलाई नेपालको विशेषता घोकाउँदै छिन् । ‘ताज जित्ने आत्मविश्वास नलिई त को आउँछ र ?’ उनले कान्तिपुरसँग भनिन्, ‘त्यसबाहेक म फर्कंदा नेपाल नचिन्ने कोही नहोस् भन्ने मेरो उद्देश्य छ ।’
अधिकांश प्रतियोगीसँग उठबस हुँदा कतिपयलाई ‘सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’ नेपालमा छ । जीवित देवी ‘कुमारी’ नेपालमै छिन् । भूकम्पपछि पुनर्निर्माण कार्य पनि जारी छ, देश १८ घन्टा अन्धकारमा रुमल्लिएको छैन’ जस्ता कुरा हेक्का रहेनछ । मिस नेपाल त्यो भ्रम चिर्न प्रयत्नशील छन् । ‘प्राकृतिक सौन्दर्य नै नेपालको पहिचान हो । हामीसँग संस्कृति, भेषभूषा, धर्म, जातजाति र मौसमको विविधता छ भनिरहेकी छु,’ उनले सुनाइन् ।
६९ औं मिस वर्ल्ड प्रतियोगिता भइरहँदा नेपाललाई उत्कृष्ट ताज अहिलेसम्म मिलेको छैन । यद्यपि अनुष्कालाई नेपालले हारिरहेको कत्ति अनुभव हुन्न र पालो आउँछ भन्ने लाग्छ । ‘विश्वका सबै देशबाट सर्वोत्कृष्ट प्रतियोगी नै आएका हुन्छन् । उनीहरूलाई मेरै देशले जिते हुन्थ्यो भन्ने हुन्छ । तर, मलाई सके ताज जिऔं नत्र फर्कंदा कम्तीमा नेपाल नचिन्ने कोही नहोस् भन्ने लाग्छ,’ उनी भन्छिन् । प्रतियोगिताका लागि मिहिनेत भने गरिरहेको उनले बताइन् । आफ्नो विवेक र क्षमताले भ्याएसम्म मिस वर्ल्डमा बलियो उपस्थिति जनाउने उनको प्रण छ । विशेष गरी मल्टिमिडिया र ‘हेड टु हेड च्यालेन्ज’ विधामा अनलाइन मत दिएर सहयोग गर्न देशविदेशस्थित नेपालीलाई उनको आग्रह छ । ‘ब्युटी विथ प्रपोज’ अन्तर्गत आफ्नो परियोजनालाई समर्थन गरिदिए आफू कृतज्ञ हुने बताइन् । ‘विशेष गरी सकारात्मक प्रभाव फैलाउने मेरो ध्येय छ । आफ्नो क्षमताले एकजना मान्छेको जीवनमा मात्र सुधार गर्न सकियोस् अनि विस्तारै परिवार, समाज, देश र विश्वलाई नै परिवर्तन गर्ने सोच हामीमा हुनुपर्छ,’ ‘मिस इन्टेलेक्चुअल’ उपाधिकी विजेतासमेत रहेकी अनुष्काले भनिन् ।
लन्डनको क्रिसमस शृंगार र उज्यालोले उनको मन तानेको छ । यहाँका पौराणिक अनि अत्याधुनिक भवनहरूको सम्मिश्रण र विकास देखेर दंग छिन् उनी । फुर्सदको समय बेलायतका नेपालीसँग भेटघाट पनि जारी छ । एनआरएनए पदाधिकारीपछि अनुष्काले सप्ताहन्त लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसँग भेटघाट गरिन् । आउनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका नेपाली राजदूतसँग पनि उनको भेटघाट माहोल बनेको थियो । ‘नेपाल सरकारको सकारात्मक धारणा छ । उहाँहरूले तपाईं नेपालको राष्ट्रिय दूत नै हो भनेर ममा भूमिका निभाउन सक्ने क्षमता देख्नुभएकाले मिस नेपाल परिवर्तन र प्रभाव पार्न सक्ने पद रहेछ भन्ने लाग्छ,’ उनी आफ्नो जितलाई उपलब्धि ठान्छिन् । अहिले नेपालमा पनि मिस नेपाल प्रतियोगितालाई प्रभावकारी र सामाजिक योगदान पुर्‍याउन सक्ने पदका रूपमा बुझ्न थालिएको अनुष्काको धारणा छ । ‘मिस वर्ल्ड प्रतियोगिता’ यही डिसेम्बर १४ तारिख लन्डन एक्सेलमा हुने तयारी छ ।

कला र शैली

‘नग्नता संस्कारले दिँदैन’

- कान्तिपुर संवाददाता

अमेरिकी मोडल नरगिस फाख्रीलाई भारतीय फिल्म निर्देशक इम्तियाज अलीले फिल्म ‘रकस्टार’ मा डेब्यु गराउँडै बलिउड भित्र्याएका थिए । किङफिसरको क्यालेन्डर फोटोसुटमा नरगिसको सुन्दरतादेखि प्रभावित इम्तियाजले भाषाको समस्याका बाबजुद पनि नरगिसलाई रणवीर कपुरको अपोजिटमा ब्रेक दिएका थिए । फिल्मले प्रशंसा र पैसा दुवै बटुल्यो ।
नरगिसको अभिनयको भन्दा ज्यादा सुन्दरताको तारिफ भयो । त्यसपछि छिटपुट फिल्महरू पाइरहिन् । हलिउड फिल्म ‘स्पाई’ समेत खेलिसकेकी नरगिस आफूलाई ग्लोबल सिटिजन भन्न रुचाउँछिन् । कारण, उनी पाकिस्तानी बुबा र चेक आमाकी सन्तान हुन्, जो अमेरिकामा मोडलिङपछि बलिउडमा अभिनयमा लागिन् । हालैको एक अन्तरवार्तामा नरगिसले आफू बलिउड आउनुको कारण खुलाएकी छन् । ‘बलिउड फिल्ममा यौनका दृश्य नहुने भएकैले म यहाँ फिल्म खेल्न आएकी हुँ,’ नरगिसले आफ्नो आदर्श, विचारधारा र नैतिकताले यौनजन्य दृश्य भएका फिल्म खेल्न नदिने तर्क गरेकी छन् । भनेकी छन्, ‘म फिल्म खेल्न बलिउड आएकोमा निकै खुसी थिएँ । किनकि त्यहाँका फिल्ममा सेक्स सिनहरू हुँदैनथे । र, मैले आफूलाई फिल्मको बहानामा क्यामेरा अघि नंग्याउन परेन ।’ उनले एक एडल्ट स्टार ब्रिट्नी डेला मुरसँगको कुराकानीमा यस्तो धारणा व्यक्त गरेकी हुन् । नरगिसले आफ्नो मूल थलो पाकिस्तान भएकोले पनि भारतसँग कला, संस्कृति मिल्ने भएकोले बलिउड प्रवेश सुखद रहेको बताइन् ।
कुराकानीकै क्रममा आफूलाई एडल्ट म्यागाजिन प्लेब्वाईले समेत कभर फोटोसुटका लागि मोटो रकमसहित अफर गरेको खुलासा गरिन् । भनिन्, ‘जब म मोडलिङ गरिरहेकी थिएँ । त्यसबेला प्लेब्वाई म्यागाजिनले कलेज संस्करणका लागि फोटोसुटका लागि केही मोडलहरू खोजिरहेको रहेछ । मेरो एजेन्टमार्फत् उक्त म्यागाजिनले मलाई मनग्गे पैसा दिएर फोटोसुट गराउन चाहेको थियो । तर मैले मानिनँ किनभने त्यस्तो काममा जति नै धेरै पैसा आउने भए पनि मलाई नग्न बन्न मेरो संस्कारले दिँदैन ।’ – एजेन्सी

कला र शैली

जोशीको योगदानबारे ‘जुरेली दर्शन’

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– संस्कृतिविद् सत्यमोहन जोशीको जीवनका महत्त्वपूर्ण क्षण र योगदानबारे अन्वेशक कवि अनिल पौडेलद्वारा लिखित कृति ‘जुरेली दर्शन’ कृतिमा परिचर्चा गरिएको छ । मोरङ बेलबारीस्थित साहित्य विकास समितिले गरेको परिचर्चामा कृतिका सर्जक पौडेल पुस्तक लेखन क्रममा संस्कृतिविद् जोशीसँग भएका रोचक र महत्त्वपूर्ण प्रसंगहरू सुनाए । ‘उहाँको जीवनशैली अचम्मको पाएँ,’ पौडेलले भने, ‘शताब्दी पुरुष बनिसक्नुभएका उहाँ हामीभन्दा छिटो उठ्नुहुन्छ । तन्नेरीभन्दा पनि बढी क्रियाशील हुनुहुन्छ उहाँ ।’
पौडेलले नेपाली संस्कृति, सम्पदा, भाषा–साहित्य र समग्र वाङ्मयमा जोशीको योगदान ठूलो रहेको दाबी गर्दै आफूले ‘सिन्धुबाट बिन्दु बटुल्ने कोसिस गरेको’ बताए । बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कला र साहित्यतिर आफ्नो ज्ञान नभए पनि रुचि भएकाले नगरको कला, साहित्य, संगीत र संस्कृतिलाई भरथेग गर्न स्थानीय तह लागिरहेको बताए । पुस्तकमाथि टिप्पणी गर्दै कवि इरान राईले मिहिनेतका साथ सरल भाषामा जोशीबारे रोचक र गहन विषय पस्किएको बताए । टिप्पणीकार बैजयन्ती मिश्रले कृतिमा ‘जुरेली दर्शन’ को आलोकमा संस्कृतिविद् जोशीको योगदान चर्चा गरिएको बताए ।

कला र शैली

रानी बनिन् निता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सञ्चारकर्मी दीपेन्द्र घिमिरेको शब्दमा गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘रङ्गभित्रको...’ को भिडियो मंगलबार सार्वजनिक भएको छ । गीतमा एसडी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् । एक रानीको राजासँगको मायाको चाहना तर राजाको बेवास्तालाई कथानक बनाइएको सार्वजनिक गीतको भिडियोमा नायक निराजन प्रधान र नायिका निता ढुंगानाको अभिनय रहेको छ । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने अनिल के मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

कला र शैली

पूर्वकी स्रष्टा राजधानीमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मोरङ बेलबारीकी कवि बादलदेवी चाम्लिङ राजधानीमा आयोजित ‘अविरल जनसाहित्य यात्रा’ को ६२ औं शृंखलामा प्रस्तुत भएकी छन् । जनसाहित्यिक महासंघ नेपालले गर्दै आएको शृंखलामा यसपटक उनको एकल कविता वाचन भएको हो । चाम्लिङले आफ्नो साहित्य यात्रा, दैनिकी र सिर्जनाका विषयमा बोल्दै एक दर्जन कविता वाचन गरिन् । दुई वर्षअघि प्रकाशित कवितासंग्रह ‘पाठेघर’ बाट उनले ‘प्रकृति’, ‘आमा’, ‘घर’, ‘पहाड’, ‘तलाउ’ लगायतका ८ वटा र अप्रकाशित ‘बोक्सी’, ‘गाउँकी मेरी सुन्दर भाउजू’, ‘चालमा रहनु’ लगायतका कविता सुनाइन् । उनलाई वाचनका लागि कवि अनिता लामा र रोजिता बुद्धाचार्यले सघाएकी थिइन् । कवि लामाले ‘प्रकृति’ र ‘तलाउ’ गरी दुईवटा कविता सुनाइन् भने बुद्धाचार्यले महिलाकै विषयमा केन्द्रित कविताहरू ‘दृश्यमा उनी’ र ‘गाउँकी मेरी सुन्दर भाउजू’ सुनाइन् ।
सहरिया परिवेशभन्दा टाढा बसेर सिर्जना गरिएका आफ्ना कवितामा गाउँकै पन आउन सक्ने बताइन् कवि बादलदेवीले । प्राज्ञ एवं कवि लक्ष्मी मालीले चाम्लिङलाई समाजमा आफूले देखेको, भोगेको कुरालाई मिहिन तरिकाले विश्लेषण गर्ने कविको रूपमा विश्लेषण गरिन् । अधिकांश उनका कविता महिला विषय प्रधान रहेको माली उल्लेख गरिन् ।

Page 12
समाचार

राउटेलाई रक्सीको लत

- ज्योति कटुवाल

(दैलेख) - तीन वर्षअघि राउटे मुखिया वीरबहादुर शाहीका छोरा २२ वर्षीय कपिल शाही आगोमा परेर घाइते भए । दुखाइ कम गर्न उनले मदिराको सहारा लिन थाले । गत साता स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरियो ।
वीरेन्द्रनगरमा उपचार हुन नसकेपछि उनलाई सोमबार काठमाडौं रिफर गरिएको छ । नियमित अत्यधिक मदिरा सेवनले उनका मिर्गौलाले काम गर्न छाडेको चिकित्सकको भनाइ छ । उनी मात्र होइन, मदिराको अत्यधिक सेवनका कारण राउटे समुदायमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । यसले बालबालिकादेखि वृद्धवृद्धासम्मको ज्यान जोखिममा परेको स्वास्थ्यकर्मीको भनाइ छ ।
१० वर्षको अवधिमा राउटे बस्तीमा एक सय १४ जनाको मृत्यु भएको छ । त्यसमध्ये धेरैजसो मदिरा सेवनको असर देखिएर मृत्युवरण गर्नेहरू छन् । मदिरा सेवनका कारण अधिकांश राउटेको शरीर फुलेको स्वास्थ्यकर्मी बताउँछन् । ०६४ सालमा दैलेखमा बस्ती बस्दा राउटेको संख्या २ सय ६८ थियो । त्यसयता राउटे समुदायमा जन्मदर र मृत्युदर बराबर जस्तै छ । अहिले १ सय ५० जना राउटे गुराँस गाउँपालिकाको सामुदायिक वनमा बसिरहेका छन् ।
मदिराकै कारण केही वर्षअघि भीरबाट खसेर महामुखिया ऐनबहादुर शाहीको ज्यान गयो । कृष्णबहादुर शाही र बिर्खबहादुर शाहीले पनि मदिरा सेवनकै क्रममा ज्यान गुमाए । राउटे बस्तीमा पुरुष मात्र नभई बालबालिका र महिलाले समेत मदिरा सेवन गर्छन् । ‘पहिले हामी घरेलु औषधि बनाएर खान्थ्यौं,’ ७६ वर्षीया मुदुषी शाहीले भनिन्, ‘अहिले बाहिरको औषधि
खान्छौं । रक्सीले बिगार्‍यो तर सबैले खान्छन् ।’ केही समययता बलालबहादुर शाहीसहित पाँच युवामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ । बिरामी भएका बेला पनि मदिरा सेवन गरेकाले उनीहरूको ज्यान जोखिममा परेको छ ।
डडेल्धुराका दानसिंह राउटे कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत राउटेको स्वास्थ्य सुधार र सरसफाइ अभियानमा खटिएका छन् । ‘राउटेलाई सम्झाइबुझाइ गर्न सजिलो छैन,’ उनले भने, ‘हाम्रो अस्तित्व संकटमा पर्न थालेको छ ।’ राउटे बस्तीमा महिनामा चारपटक स्वास्थ्य जाँच गरिँदै आएको उनले बताए । ‘औषधि कम, रक्सी धेर खाएर समस्या भयो,’ उनले भने । बस्तीमा आउने अधिकांशले मदिरा, सुर्तीजन्य पदार्थ र केही रकम दिने गरेकाले पनि अधिकांश अम्मली बनेको उनको भनाइ छ । सुधार ल्याउन प्रयास भने जारी रहेको उनले बताए ।

समाचार

द्वन्द्वको घाउबाट तंग्रिँदै पन्डौन

विस्थापित गाउँले घर फर्किए, सरकारी कार्यालयहरु फर्किएनन् । तिनलाई अझै खोज्दै धनगढी पुग्नुपर्ने दिन भने अन्त्य भएन ।
- मोहन बुढाऐर
कैलालीको मोहन्याल सिमस्थित कमल बमको घर । सशस्त्र द्वन्द्वकालमा यो घर तत्कालीन माओवादी नेताको सेल्टर थियो । तस्बिर ः कान्तिपुर

(पन्डौन, कैलाली) - 
तत्कालीन माओवादीको ‘सुदूर आधार इलाका’ मानिने पन्डौनमा सशस्त्र द्वन्द्वको घाउ मेटिँदै गएको छ । माओवादीले त्यसबेला पश्चिम तराई ताक्ने किल्लाका रूपमा बनाएका ‘बंकर’ भग्नावशेषमा परिणत हुँदै गएका छन् । स्थानीय बासिन्दा पनि स्वाभाविक जीवनयापनमा अभ्यस्त हुन थालेका छन् ।
साविकको पन्डौन गाविसको केन्द्र खिमडी पनि द्वन्द्वका घाउबाट तंग्रिँदै छ । मोहन्याल गाउँपालिकाको कार्यालय पनि यहीँ छ । साविकका मोहन्याल, पन्डौन र सुँगरखाललाई गाभेर मोहन्याल गाउँपालिका बनाइएको हो । ‘सशस्त्र द्वन्द्वकालमा चुरेमा उक्लिने चारैतिरका बाटामा माओवादीका चेकपोस्ट ‘बंकर’ थिए । नयाँ मान्छेलाई प्रवेश गर्न मुस्किल हुन्थ्यो । स्थानीयले माओवादीको ‘पास’ (अनुमतिपत्र) लिएर मात्र तराई आउजाउ गर्न पाउँथे,’ स्थानीय शिक्षक मीनबहादुर चन्दले सुनाए ।
यहाँका बासिन्दाले कहिल्यै नबिर्सने घटना खिमडी र पन्डौनका भिडन्त हुन् । खिमडीको भृकुटी माविमा २०६० र पन्डौनमा २०६१ मा ठूलो भिडन्त भएको थियो । दुवै घटनामा सेना र तत्कालीन विद्रोही माओवादी पक्षको ठूलो क्षति भएको थियो । ८१ वर्षीय लालमुनि बोहरा खिमडी भिडन्तका साक्षी हुन् । त्यसबेला उनी उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए । ‘विद्यालयलाई शान्ति क्षेत्रको कुरो यही घटनापछि उठेको हो,’ उनले भने, ‘स्कुल छुट्टी भएको १ घण्टापछि स्कुल छेउमा
पुगेका सैनिकमाथि माओवादीले आक्रमण गरेका थिए ।’
बोहराका अनुसार चुरेको १५ सय उचाइ काटेर खिमडीमा सेना पहिलोपल्ट पुगेको थियो । त्यसअघि यहाँ माओवादीको एकछत्र राज जस्तै थियो । घटनापछि सेनालाई यहाँसम्म पुर्‍याउनमा कसैको मद्दत र सुराकी रहेको माओवादीले आकलन गर्‍यो । ‘यो घटनापछि कोही जंगल पसे, कोही सहर पसे,’ उनले सम्झिए, ‘गाउँमा केटाकेटी, महिला र वृद्धवृद्धा मात्रै रहे ।’ उनी पनि माओवादीको अपहरणमा परे । ‘राति माओवादीको कब्जाबाट फुत्केर धनगढी पुग्दा ज्यान जोगिएको हो,’ उनले भने ।
सेनाले पनि मोहन्याल खलुबलुका एक जना बस्नेत थरका निर्दोषको हत्या गरेको बोहराले बताए । ती व्यक्ति आफन्त भेट्न घटनाको अघिल्लो दिन आएका थिए । खिमडीको घटनापछि सेनाले केही दिनसम्म चलाएको ‘सर्च अपरेसन’ ले पनि स्थानीय विस्थापित भए । सेनाको अपरेसनबाट बच्न गाउँमै बसेका युवा पनि माओवादीसँगै लाग्न बाध्य भएको बोहराले सम्झिए । माओवादीले सुरक्षा निकायमा गएका परिवारलाई गाउँ निकालाको घोषणा गर्‍यो । कैयौं परिवारले रुँदै थातथलो छाडे । मुलुक शान्ति प्रक्रियामा फर्केपछि मात्रै उनीहरू गाउँ फर्किन पाए । माओवादी समर्थक भएकाहरूले सहर देख्न पाएका थिएनन् । दुवै परिवारबीच शत्रुजस्तो सम्बन्ध थियो ।
‘केका लागि यत्रो युद्ध भयो ? मनमा प्रश्न अनुत्तरित रह्यो,’ बोहराले भने, ‘किन यति धेरैको रगत बग्यो ?’ तत्कालीन माओवादीका ठूला नेता भेट्न पाए यही कुरा सोध्ने धोको छ उनलाई । सशस्त्र युद्धले समाज र संस्कृति भाँड्ने तथा विकासको गति रोक्ने काम गरेको उनको विश्लेषण छ । भृकुटी माविका शिक्षक भक्तप्रसाद भण्डारीले शान्ति प्रक्रियापछि धेरै समय सत्तामा रहेको तत्कालीन माओवादीले आफ्नो आधार इलाकाको विकासमा दिलचस्पी नदेखाएको बताए । ‘माओवादी शान्ति प्रक्रियाबाट सरकारमा जाँदा स्थानीयले घरघरमा दीपावली गरेका थिए,’ उनले भने, ‘निकै ठूला सपना देखेका थिए, गाउँघरमा मोटर पुगेकोदेखि रोजगारीसम्म । तर बितेको १५ वर्षमा माओवादीप्रति स्थानीयको आश/विश्वास सबै टुट्यो ।’
भण्डारीका अनुसार संकटकालमा विस्थापित भएका सरकारी कार्यालय स्थापना हुन सकेका छैनन् । सेवाग्राहीले जनप्रतिनिधि र पालिकाका कर्मचारी खोज्दै दुई दिन पैदल हिँडेर धनगढी पुग्नुपर्ने दिन अन्त्य भएको छैन । बल्लतल्ल अहिले खिमडीसम्म मोटरबाटोको ट्र्याक मात्रै खुलेको छ ।
माओवादी शान्ति प्रक्रियामा गएपछि कांग्रेस र तत्कालीन एमालेभन्दा फरक हुन नसकेको तत्कालीन माओवादीका पूर्व स्थानीय कार्यकर्ताको बुझाइ छ । ‘स्थानीय तहको निर्वाचनमा मोहन्याल गाउँपालिकाबाट माओवादीले हार बेहोर्नुको कारण ‘जनयुद्ध’ का सहयोगी जनतालाई बिर्सनु हो,’ तत्कालीन गाजस (गाउँ जनसरकार) उपप्रमुख गणेश बमले भने । स्थानीय तहमा तत्कालीन एमालेले जितेको छ । मोहन्याल कठउर गाउँका रजबार टेकबहादुर बमले अहिले समाजमा स्वतः भाइचाराको सम्बन्ध विकास भएको बताए ।
उनले राज्य र माओवादीबाट पीडित परिवारबीचको आपसी सम्बन्ध र नाता पनि पुनः जोडिएको बताए । ‘बन्द भएका धार्मिक मेला लाग्न सुरु भएका छन्,’ उनले भने, ‘गाउँमा विकास पुग्न नसके पनि समाजमा आएको अमनचैन र शान्तिले खुसी छु ।’
उद्योगमन्त्री भट्टको बंकर
कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित तत्कालीन माओवादी नेता लेखराज भट्ट ३ पटक मन्त्री पदमा पुगेका छन् । उनी मुलुक शान्ति प्रक्रियामा अघि बढेयता आफूले भूमिगत जिन्दगी बिताएको मोहन्याल भने एकपटक पनि पुगेका छैनन् ।
साविकको मोहन्याल–२, सिमकमल बमको घर उनको लुक्ने ठाउँ थियो । सेनाको हवाई गस्तीबाट बच्न उनले त्यही घरभित्र बंकर खनेका थिए । अहिले पनि ७५ वर्षीय बम त्यही घरमा छन् । उनका अनुसार नेता भट्ट देश बनाउने अनेक कुरा गर्थे । सर्वहारा वर्गको उत्थानको लडाइँमा साथ दिने जनता यो देशको शासक बनाउने भन्थे । अहिले ती गफ झूटा भएको उनले महसुस गरेका छन् ।
पति कुर्दै लाहुरे बज्यै
साविकको मोहन्याल–५, कटौजे जिमकट्टेकी ६० वर्षकी रमिता घर्तीमगर आफ्ना पति इन्डियन आर्मी करनसिंहको बाटो कुरेरै बसेकी छन् । २०५९ वैशाख २१ गते तत्कालीन शाही सेनाले समातेर लगेका उनी फर्किएका छैनन् । पूर्व इन्डियन आर्मी करनसिंह बेपत्ताको सूचीमा छन् । ‘बाटो कुरेरै बसेकी छु । न श्वास छ, लास छ,’ उनले भनिन् । उनले सरकारबाट १० लाख राहत पाएकी छन् । तर आफ्नो निर्दोष पति फर्किन्छन् कि भनेर उनले बाटो हेर्न छाडेकी छैनन् ।

समाचार

मौसमी ‘राडार’ सञ्चालन

- कान्तिपुर संवाददाता

वीरेन्द्रनगर (कास)– नेपालकै पहिलो मौसमी ‘रेडियो डिटेक्सन एन्ड रेन्जिङ’ (राडार) सुर्खेतको वीरेन्द्रनगर–१३, रातानाङ्लामा स्थापना भएको छ । मौसमसम्बन्धी पूर्वसूचना दिने यो प्रणालीको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरे ।
२०७५ कात्तिक १४ मा निर्माण सम्पन्न भए पनि प्राविधिक समस्याले राडार सञ्चालनमा आउन सकेको थिएन । सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाडौंबाट संकलन गरिने छ । विश्व बैंकको सहयोगमा १७ करोड रुपैयाँ लागतमा राडार जडान गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार यसले कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशभित्र पर्ने ४ सय किलोमिटर दूरीसम्मको मौसमको पूर्वसूचना दिनेछ । ‘राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्नेछ,’ उनले भने, ‘यसले मौसमी प्रतिकूलताका कारण हुने प्राकृतिक जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण टेवा दिनेछ ।’ यसअघि यसबाट लिइने जानकारी अमेरिकामा रहेको इन्टरप्राइज इलेक्ट्रोनिक्स कोअपरेसन (सीईसी) ले संकलन गर्दै आएको र सोही कम्पनीसँगको सम्झौतामा नेपालमा राडार जडान गर्ने प्रक्रिया सुरु गरिएको उनले बताए ।
राडारबाट प्राप्त तथ्यांक र सूचनाका आधारबाट पश्चिम क्षेत्रमा हुने मौसमजन्य प्रकोप र तिनीहरूको असरलाई उल्लेख्य रूपमा घटाउन सकिने मन्त्रालयले जनाएको छ । मौसमविज्ञका अनुसार मौसमी राडारले सेकेन्ड–सेकेन्डमा निष्कासन हुने विद्युत्–चुम्बकीय लहरहरू वायुमण्डलमा रहेको बादल र हावामा भएका पानीको थोपासँग ठोक्किएर आएको तथ्यांकलाई मापन गर्ने
काम गर्दछ ।
राडारले कर्णालीमा हवाईयात्राको अवस्थाबारे सहयोग गर्नुका साथै कृषकलाई समेत बालीनाली लगाउन मद्दत पुर्‍याउनेछ । मन्त्री पुनले यसको सदुपयोगले जोखिम व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

Page 13
अर्थ वाणिज्य

बैंकर्स संघमा दाहाल निश्चित

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल चयन हुने भएका छन् । संघको नयाँ नेतृत्वका लागि अरू कसैको उम्मेदवारी नपरेपछि दाहाल निश्चित भएका हुन् । संघको ३३ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्ष पदमा चयन गर्नेछ । आउँदो बिहीबार संघको सधारणसभा हुँदै छ । संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाको दुईवर्षे कार्यकाल सकिएपछि उक्त पदमा दाहालको उम्मेदवारी परेको हो ।
दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उनीसँग बैंकिङ क्षेत्रको २८ वर्षको अनुभव छ । दाहालले नबिल बैंकबाट करिअर सुरु गरेका हुन् । सहायक पदबाट बैंकिङ करियर सुरु गरेका दाहालले करिब २२ वर्ष नबिल बैंकमै काम गरे । नबिलबाट बाहिरिँदा उनी प्रमुख सञ्चालन अधिकृत (सीओओ) थिए । ६ वर्षअघि उनी डेपुटी सीईओमा सानिमा गएका हुन् । त्यसको ६ महिनापछि उनले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । दाहाल वित्तीय क्षेत्रका बौद्धिक सीईओ मानिन्छन् ।
संघको नयाँ कार्यसमितिका लागि मंगलबार ५ बजेसम्म उम्मेदवारी दिनुपर्ने थियो । सो अवधि सम्म सबै पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक एवं कार्यकारी निर्देशक अनिल शर्माले बताए । ‘अध्यक्ष पदमा
सानिमा बैंकको मात्र उम्मेदवारी परेको छ,’ उनले भने, ‘सो प्रस्ताव साधारणसभाबाट पारित हुनुपर्छ ।’
संघमा अध्यक्ष, उपाध्यक्ष र सात सदस्य गरी ९ जनाको कार्यकारी समिति हुन्छ । तीमध्ये अध्यक्ष, उपाध्यक्ष र ५ जना सदस्यका लागि अहिले निर्वाचन हुन लागेको हो । संघमा बैंक सदस्य हुने व्यवस्था छ । बैंकको प्रतिनिधित्व प्रमुख कार्यकारी अधिकृतले गर्छन् ।
मंगलबारसम्म संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरको उम्मेदवारी परेको छ । उनी अहिले पनि संघको उपाध्यक्ष छन् ।

अर्थ वाणिज्य

३ अर्ब निर्यात हुँदा साढे २७ अर्बको आयात

कृषि व्यापारमा असन्तुलन
- राजु चौधरी

(काठमाडौं) - पछिल्लो चार महिनामा ३ अर्ब रुपैयाँको कृषिबाली निर्यात हुँदा साढे २७ अर्बको आयात भएको छ ।
सिँचाइ, उत्पादन लागत, सरकारी नीति, बजारीकरणको अभावलगायत कारण कृषि वस्तुको व्यापारमा ठूलो असन्तुलन देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको चौमासिक प्रगति विवरणअनुसार अलैंची, चिया, अदुवा, कफी र ताजा तरकारीको निर्यात भएको छ । खाने तेल, धान, आलु, मकै, प्याज, गहुँ, ताजा तरकारी, स्याउ, केरा, आँपलगायत बालीको आयात भएको छ ।
प्रगति समीक्षाअनुसार सबैभन्दा बढी खानेतेल (सोयाबिन/सनफ्वार) तेल खरिदमा ७ अर्ब ६६ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ करोड रुपैयाँले बढी हो । ४ महिनामा ६ अर्ब ३० करोड रुपैयाँको धान आयात भएको छ । मन्त्रालयले अघिल्लो वर्ष धान उत्पादनमा रेकर्ड कायम भएको दाबी गरेको थियो । हाल धानको उत्पादकत्वप्रति हेक्टर ३.७६ टन छ ।
चालु आवको अन्त्यसम्ममा ३.९० पुर्‍याउने मन्त्रालयको योजना छ । चालु आर्थिक वर्षमा गरिमा धानको नक्कली बीउ, फौजी किरालगायत प्रकोपले उत्पादन घट्ने आकलनसमेत गरिएको छ । यसले आयातमा थप वृद्धि हुने जानकारहरू बताउँछन् । राष्ट्रिय कृषक समूह महासंघ नेपालका निवर्तमान अध्यक्ष उद्धव अधिकारीका अनुसार मुख्यत सिँचाइ, अनुदान र नीतिका कारण परनिर्भर भएको भएको हो । ‘राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकभर ३८ लाख घरधुरी किसान छन् । पर्याप्त सिँचाइ छैन । सरकारी नीतिले किसानलाई गनेन,’ महासंघको संस्थापक अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘नीतिकै कारण किसान पलायन हुँदै छन् । कृषिको आयात भयावह हुँदै छ ।’ महासंघका अनुसार प्रकोपले बाली नष्ट हुँदासमेत किसानले राहत/क्षतिपूर्ति पाएका छैनन् । कृषिको अनुदान कृषकको नाममा कार्यकर्ता र कर्मचारीको हातमा परेको छ । जसले गर्दा कृषि बालीमा सुधार हुन नसकेको महासंघको दाबी छ । मन्त्रालयको प्रगति विवरणअनुसार आलु खरिद गर्न ३ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ ।
अघिल्लो वर्षको ४ महिनामा ३ अर्ब ११ करोड रुपैयाँको आलु आयात भएको थियो । आलु मुख्यत चीन र भारतबाटै आयात हुन्छ । मकै खरिदमा ३ अर्ब ८१ करोड रुपैयाँ बाहिएिको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिमा भन्दा ४५ करोड रुपैयाँले बढी हो । नेपालमा पर्याप्त उत्पादन नभएपछि ब्राजिल, अर्जेन्टिना लगायतबाट आयात भएको मकै कुखुराको दानामा प्रयोग हुन्छ । विवरणअनुसार ४ महिनाको अवधिमा १ अर्ब ५९ करोड रुपैयाँको प्याज आयात भएको छ । प्याजको आयात ११ करोड रुपैयाँले घटेको छ । प्याज मुख्यतः भारतबाट आयात हुन्छ । खडेरी र भारी वर्षाले भारतमा प्याज खेतीमा असर परेपछि माग धान्न भारतले निर्यात प्रतिबन्ध लगाएको छ । निर्यात प्रतिबन्ध हुँदा आयात केही घटेको हो । कृषिविज्ञ कृष्ण पौडेलका अनुसार उत्पादन लागत/आम्दानीका आधारमा किसानहरू खेती रोजेका छन् । तर, उत्पादन लागत बढी हुँदा किसानले खेती गर्न छाडेका छन् । यीबाहेक बजारीकरणको पनि समस्या छ । ‘किसानले मात्रै बजारीकरण गर्न सक्दैन । किसान संगठित नहुँदा मूल्य तोक्न सक्दैन,’ कृषिविज्ञ पौडेलले भने, ‘कृषिलाई उद्यम मान्ने हो भने राज्यले पुँजी, अनुदान सहुलियत वा सहज रूपमा ऋण पाउने व्यवस्था मिलाउनुपर्छ ।’
हाल सहकारीले २४ प्रतिशतसम्ममा ऋण दिने गरेका छन् । चर्को ब्याजमा खेती गरे पनि किसानले धानबाहेक कृषि उपजमा लागत मूल्य पाउँदैनन् । मन्त्रालयको प्रगति विवरणअनुसार गहुँ बालीमा भने केही सुधार भएको छ । अघिल्लो वर्ष ४ महिनामा २ अर्बको आयात भएको गहुँ हाल ४८ करोडको आयात भएको छ । सरकारले १५ औं योजनाका लागि गहुँको उत्पादन २४ लाख २० हजार टन पुर्‍याउने लक्ष्य राखेको छ । ताजा तरकारी आयातमा ३ करोड रुपैयाँ खर्च भएको छ । तरकारी मुख्यतः भारतबाट र फलफूल चीनबाट आयात हुन्छ । आयात हुने अधिकांश तरकारी कालीमाटी तथा फलफूल बजारमा भित्रिन्छ । कालीमाटी तरकारी बजारले उपत्यकाको करिब ७५ प्रतिशत मागलाई सम्बोधन गर्छ । भारतले कृषिजन्य वस्तुमा पर्याप्त मात्रामा अनुदान दिन्छ । जसले गर्दा त्यहाँको उत्पादन सस्तो भई आयात हुन्छ ।

मुख्य कृषि बालीको आयात

बाली रकम
सोयाबिन/सनफ्वार तेल ७६६ करोड
धान ६३० करोड
आलु ३८४ करोड
मकै ३८१ करोड
प्याज १५९ करोड
गहुँ ४८ करोड
ताजा तरकारी ३ करोड
स्याउ २६२ करोड
आँप–कागती ६५ करोड
केरा ५५ करोड
कुल २७५३ करोड
स्रोत ः कृषि तथा पशुपन्छी विकास मन्त्रालय

अर्थ वाणिज्य

नेपालको स्याटेलाइटमा ओमनको पनि विरोध

- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपालले राख्न लागेको स्याटेलाइटका कारण आफ्नो स्याटेलाइट प्रभावित हुने भन्दै ओमनले अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) प्रोटेस्ट हालेको छ । ओमनले उक्त पत्र नेपाल सरकारलाई पनि पठाएको छ ।
नेपालले राख्न लागेको स्याटेलाइटबाट ओमनले आफ्नो स्याटेलाइटको एउटा अंश प्रभावित हुने दाबी गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ओमनले पत्र पठाएको जानकारी दिँदै वार्ताबाट समाधान हुने बताएका छन् ।
‘हामीले आईटीयूलाई स्याटेलाइट राख्ने औपचारिक जानकारी गराएपछि आईटीयूले आफ्ना सदस्य राष्ट्रयलाई यसको विस्तृत विवरणसहित जानकारी गराएको थियो,’ खनालले भने, ‘ओमनले आफ्नो स्याटेलाइटको केए ब्यान्ड प्रभावित हुन्छ भन्दै पत्र पठाएको छ ।’
नेपालले राख्न लागेको स्याटेलाइटमा केयू र सी ब्यान्डसहित केए ब्यान्डको पनि राख्ने तयारी गरी आईटीयूलाई पत्र लेखिएको उनले जानकारी दिए । केए ब्यान्ड बढी ब्यान्डविथ दिन सक्ने शक्तिशाली मानिन्छ । यो विशेषगरी उच्च गतिमा डाटा ट्रान्सफरका लागि काम लाग्ने ब्यान्ड भनी पहिचान भएको छ ।
नेपाललाई कम्युनिकेसन स्याटेलाइट राख्नका लागि आईटीयूले १२३.३ पूर्वी देशान्तरको स्लट उपलब्ध गराएको छ । नेपालले यही स्थानमा स्याटेलाइट राख्नका लागि फ्रान्सको थ्यालस एलेनियासँग समझदारी गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुसभित्र स्याटेलाइट राख्नका लागि फ्रान्सेली कम्पनीसँग सम्झौता गर्ने तयारी गरेको छ ।
यसअघि स्याटेलाइट राख्ने स्थानमा लाओसले पनि विवाद जनाएपछि नेपाल र लाओसबीच वार्ता जारी छ । नेपाल सरकारले आफ्नो पहिलो स्याटेलाइट अन्तरिक्षमा पठाउने तयारी गरिरहँदा लाओसले अन्तर्राष्ट्रिय टेलिकम युनियन (आईटीयू) मा पत्र पठाएपछि यो विवाद सतहमा आएको हो ।
नेपालले आईटीयूबाट पाएको स्लटमा स्याटेलाइट राख्दा आफूले राख्न लागेको स्याटेलाइटलाई असर पर्ने लाओसको दाबी छ । लाओसले आईटीयूबाट निःशुल्क पाएको स्थानमा सन् २०१५ मा स्याटेलाइट राखिसकेको छ । चीनको सहयोगमा लाओसले अन्तरिक्षको १२८.५ पूर्वी देशान्तरमा स्याटेलाइट राखिसकेको छ । लाओसले आईटीयूसँग स्लट किनेर १२६ पूर्वी देशान्तरमा अर्को स्याटेलाइट राख्ने तयारी गरेको छ । लाओस्टर–१ नाम दिइएको यो स्याटेलाइटलाई असर गर्ने भन्दै लाओसले आईटीयूसँग नेपालले राख्न लागेको स्याटेलाइटप्रति असन्तुष्टि व्यक्त गरेको हो । साउन तेस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा मन्त्रालयका सहसचिव राधिका अर्याल, दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायसहितको टोली लाओस पुगेर लाओससँग विवाद समाधानका लागि वार्ता गरेको थियो ।
सरकारले आफ्नै स्याटेलाइट राख्नका लागि फ्रान्स सरकारको स्वामित्व भएको थेल्स एलेनियासँग समझदारी गरिसकेको छ । फागुन अन्तिम साता भएको समझदारीमा तीन महिनाभित्र सम्झौता गर्ने भनिए पनि हालसम्म आईटीयूलाई स्याटेलाइट स्लटका लागि ‘फाइलिङ’ गर्ने बाहेक प्रगति भएको छैन ।
आईटीयूले नेपाललाई सन् १९८४ मै दुई स्थानमा स्याटेलाइट राख्न स्लट उपलब्ध गराएको थियो । नेपालले १२३.३ पूर्वी देशान्तरबाहेक ५० पूर्वी देशान्तरमा पनि स्याटेलाइट राख्नका लागि स्लट पाएको छ । योमध्ये १२३ं.३ पूर्वी देशान्तरमा मा स्याटेलाइट राख्न सरकारले तयारी गरेको हो । सरकारले नै गठन गरेको विज्ञ समूहले भने सरकारले राख्न लागेको स्याटेलाइटको स्लट परिवर्तनका लागि सुझाव दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको स्याटेलाइट रणनीतिसम्बन्धी अध्ययन प्रतिवेदनमा आईटीयूले उपलब्ध गराएको स्लटमा स्याटेलाइट राख्दा त्यसको फुटप्रिन्ट (प्रभाव क्षेत्र) नेपालमा मात्रै केन्द्रित हुने भन्दै परिवर्तनका लागि सुझाव दिइएको हो । वीरेन्द्रप्रसाद प्रधान र मिथिलेशचन्द्र झासहितको टोलीले तयार पारेको प्रतिवेदनमा नेपालले आईटीयूसँग स्लट परिवर्तनका लागि माग गर्नुपर्ने वा आफूले पाएको स्लट अरूलाई भाडामा दिन वा अर्को स्लट भाडामा लिन सकिने सुझाव दिइएको छ ।
आईटीयूले दिएको स्लटमा सन् २०१५ भित्रमा स्याटेलाइट राखिसक्नुपर्ने भए पनि नेपालले अनुरोध गर्दै समय थप्न लगाएको थियो । नेपालले राख्ने तयारी गरेको स्याटेलाइटमा ३८ वटा ट्रान्सपोन्डर राख्न सकिने प्रतिवेदनमा जनाइएको छ । हरेक ट्रान्सपोन्डरमा ३६ मेगाहर्ज ब्यान्डविथ हुने अनुमान छ । पूर्ण रूपमा उपयोग भए प्रतिट्रान्सपोन्डर प्रतिवर्ष १० लाख अमेरिकी डलर आम्दानी गर्न सकिने प्रतिवेदनमा औंल्याइएको छ ।
इन्टरनेट ब्यान्डविथ र टेलिभिजन प्रसारणका लागि नेपालका कम्पनीहरू भारत, चीन, बेलायत र हङकङको स्याटेलाइटमार्फत नेपालले यी सेवाहरू लिइरहेका छन् ।

अर्थ वाणिज्य

टीभीएस अपाचे रेसट्र्याक सम्पन्न

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भारत चेन्नईमा रहेको मद्रास मोटर रेसट्र्याकमा आयोजित टीभीएस अपाचे रेसट्र्याक एक्सपिरियन्स सम्पन्न गरेको छ । रेस ट्र्याक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए ।

Page 14
अर्थ वाणिज्य

हाइब्रिड सवारी आयातमा भन्सार छुट नहुने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले विद्युतीय सवारी आयातमा दिँदै आएको भन्सार महसुल र अन्तःशुल्क छुट हटाएको छ ।
अर्थ मन्त्रालयले मंसिर १६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै भन्सार महसुलमा ५० प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको हो । ‘पेट्रोलियम इन्जिन र विद्युतीय ऊर्जामध्ये कुनै एक प्रकारको शक्तिबाट स्वतन्त्र रूपमा गुड्न सक्ने र सवारी साधनमा भएको ब्याट्री विद्युतीय शक्तिको बाह्य स्रोतबाट चार्ज गर्न मिल्ने हाइब्रिड सवारी साधनको पैठारीमा मात्रै आर्थिक ऐन २०७६ को भन्सारसम्बन्धी अनुसूची १ को दफा १४ को उपदफा ३ को खण्ड (ण) मा उल्लेखित दरबन्दीबमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था र अन्तःशुल्क ऐनको अनुसूची ३ अनुसार दरबन्दीबमोजिम लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाउने,’ राजपत्रमा भनिएको छ, ‘भन्सार उपशीर्षकमा पर्ने सवारी साधनमा कुनै पनि किसिमको भन्सार महसुल र अन्तःशुल्क छुट नदिने ।’ यस्तै २०७६ भदौ ५ गतेभन्दा अघि प्रतीतपत्र खोलिएको वा चलान भइसकेको प्रमाणित भएको अवस्थामा पैठारी हुने सवारी साधनमा विद्यमान व्यवस्थाअनुसार नै ५० प्रतिशत अन्तःशुल्क छुट हुने उल्लेख छ ।

अर्थ वाणिज्य

एनएमबीलाई आईएसओ प्रमाणपत्र

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्रले सम्मानित भएको छ । बैंकका ग्राहकको डाटा र सरोकारावालाको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) को उच्चतम मानकको विकास र कार्यान्वयनका लागि उक्त प्रमाणपत्र प्रदान गरिएको हो । टभ राइल्यान्ड स्वतन्त्र निरीक्षण सेवाहरू र आईएसओ प्रमाणीकरण गर्ने संस्था हो । 

अर्थ वाणिज्य

एक्चुअरी नहुँदा करोडौं बाहिरियो

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एक्चुअरीसम्बन्धी दक्ष जनशक्तिको अभावमा बिमा क्षेत्रबाट मात्र करोडौं रकम बाहिरिने गरेको विज्ञहरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विज्ञान–गणित विभागले काठमाडौंमा आयोजना गरेको ‘प्रोफेसनल स्किल डेभलपमेन्ट प्रोग्राम अन प्राइसिङ एन्ड रिजर्भिङ इन लाइफ इन्स्योरेन्स’ विषय अन्तर्क्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । नेपालमा एक्चुअरी अध्ययन गरेको जनशक्ति कम छ । ‘पर्याप्त दक्ष जनशक्ति नभएकाले नेपालको पैसा भारत गएको छ । अब नेपालमा नै जनशक्ति उत्पादन गर्नुपर्छ,’ नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष महेश गुरागाईले भने, ‘त्यसका लागि कम्पनीले पनि लगानी बढाउन आवश्यक छ ।’ वित्तीय आधुनिकीकरणको युगमा बिमा कम्पनीले सूचना प्रविधि, मानव संसाधनलगायतमा उल्लेख्य लगानी बढाउनुपर्ने उनले बताए । विगत ३ वर्षदेखि नेपालमा एक्चुअरी विषयको पढाइ सुरु भएको छ । पहिलो वर्ष ३७, दोस्रो वर्ष ३१, तेस्रो वर्ष ३७ र चौथो वर्ष ३६ जना विद्यार्थी अध्ययनका लागि भर्ना भएका छन् ।

अर्थ वाणिज्य

हस्तकला मेला सम्पन्न

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल हस्तकला महासंघले भृकुटीमण्डपमा आयोजना गरेको हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । मेलाको अवसरमा आयोजना गरिएको दुई विधाका प्रतियोगिताअन्तर्गत विजयी कलाकारलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पुरस्कृत गरेका थिए । प्रतियोगितामा विजयी तथा उत्कृष्ट प्याभिलियन, उत्कृष्ट स्टल र उत्कृष्ट वस्तु उत्पादकलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । मेलाकै अवसरमा महासंघले नबिल बैंकसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकले देशको हस्तकला क्षेत्रको प्रवर्द्धन र संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

अर्थ वाणिज्य

एमजीको १५० थान गाडी बुकिङ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ब्रिटिस ब्रान्ड एमजी (मोरिस ग्यारेज) को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले १५० थान गाडी बुकिङ गरेको छ । नयाँ एसयूभीमा सुरक्षालाई सुनिश्चित गर्दै ६ वटा एयरब्याग राखिएको छ । प्रिमियम प्यानारोमिक सनरुफ र आरमदायी इलेक्ट्रिकल समायोज्य सिटजस्ता विशेषता यसमा रहेको छ । गत जुलाई महिनामा नयाँ इलेक्ट्रिक एसयूभी एमजी जेडएसका लागि सुरुवाती प्रिबुकिङ खुलाएको थियो ।

अर्थ वाणिज्य

अजोड–एनआईसी सम्झौता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच अनलाइन भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । आइतबार भएको सम्झौता कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकबाट इन्स्योरेन्स ग्राहकले बिमासम्बन्धी सेवा लिन सक्नेछन् । 

अर्थ वाणिज्य

जरङ्खुमा सिटिजनको शाखा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तारकेश्वर, जरङ्खुमा शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुँच थप विस्तार गर्दै जनतामाझ उपस्थिति जनाउने उद्देश्यका साथ १०५ औं शाखा सञ्चानमा ल्याएको हो । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उपप्रमुख भवानी धिताल डोटेलले शाखाको उद्घटन गरेका थिए । 

अर्थ वाणिज्य

ओयोको बोर्डमा घोष नियक्त

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– ओयो होटल्स एन्ड होम्से भारत तथा दक्षिण एसियाको होटल्स र आवास व्यवसायका हालका सीईओ आदित्य घोषलाई कम्पनीको बोर्ड अफ डाइरेक्टरमा बढुवा गरेको घोषणा गरेको छ । घोषलाई कम्पनीमा एक वर्षको सफल कार्यकालपछि बोर्ड सदस्यमा बढुवा गरिएको हो ।

अर्थ वाणिज्य

हयातलाई 'वर्ल्ड ट्राभल अवार्ड'

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– हयात रिजेन्सीले भियतनामा आयोजित २६ औं विश्वव्यापी यात्रामा ‘नेपालको अग्रणी होटल’ सम्मान पाएको छ । हयातले लगातार चौथौ पटक यो सम्मान पाएको हो । हयातले पछिल्ला दुई दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । 

Page 15
Page 16
१३ औं दक्षिण एसियाली खेलवुद

त्यो रजत, यो स्वर्ण

- राजु घिसिङ
उसुको पहिलो दिन मंगलबार स्वर्ण पदकसाथ सुस्मिता तामाङ र विजय सिंजाली । तस्बिर ः अंगद ढकाल/कान्तिपुर

(काठमाडौं) - सिलोङमा तीन वर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली उसु टिमले १ स्वर्ण, १० रजत र १ कांस्यपदक जितेको थियो । एक्लो स्वर्ण विजेता निमा घर्तीमगरसहित थाउलुका खेलाडीले ६ रजत हात पारेका थिए । रजतमै सीमित हुनेमा विजय सिंजाली र सुस्मिता तामाङ पनि थिए । सिनियर तहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ–नयाँ खेलाडी भए पनि स्वर्ण जित्न नसकेकामा यी दुवैले खुबै चित्त दुखाएका थिए । खेल सकिएदेखि उपविजेताको पदक जित्दासम्मै खिन्न देखिन्थे । निक्कै रोए पनि । दुवैले सागमा स्वर्ण जित्ने त्यो बेलाको सपना मंगलबार स्वदेशमा साकार पारेका छन् ।
थाउलुको पुरुषतर्फ १० पूर्णांकको छानछ्वानमा ९.४८ अंक जोड्दै स्वर्ण कब्जा गरेका २० वर्षे विजयले भने, ‘पहिलोपल्ट ठूलो प्रतियोगिता भएकोले सिलोङमा सबैले मसँग आशा (स्वर्ण) गरिरहेको छ भनेर महत्त्वाकांक्षी भएको थिएँ । त्यति धेरैले आशा गरेको स्वर्ण ल्याउन सकेन भनेर एकदमै रोएको थिएँ । अर्कोपल्ट म पक्कै गर्छु, सक्छु भनेर सोचें । र, यसपालि सफल भएँ । एकदमै खुसी लागेको छ ।’ पाँच खेलाडी रहेको स्पर्धामा उनको नजिक बंगलादेशका मोहमद ओमार (९.३४) पुगेका थिए । श्रीलंकाका सौम्य प्रभाकर र भारतका अन्जुलले समान ९.१४ अंक जोडे ।
महिला छानछ्वानमा ९.४४ अंकसहित स्वर्ण सपना पूरा गरेकी १९ वर्षीया सुस्मिताले भनिन्, ‘प्रतिस्पर्धा सजिलो थिएन । यो खेलका लागि साढे ५ महिनादेखि मिहिनेत गरिरहेकी थिएँ । आज सफल भएँ । सपना पूरा भयो । एकदमै गर्व अनुभव भएको छ ।’ उनले तीन खेलाडी सहभागी स्पर्धामा श्रीलंकाकी पीएचजी वाथसाला (८.८५) र बंगलादेशकी नूर बाहेर बेगम (७.५३) लाई पन्छाउँदै स्वर्ण जितेकी हुन् ।
आर्मी शारीरिक तथा खेलकुद तालिम केन्द्रमा भएको कला प्रदर्शनीको आफ्नो स्पर्धामा सुरुमै उत्रिएकी सुस्मिता भन्छिन्, ‘स्वर्ण जित्छु भन्ने लागिरहेको थियो । त्यसैले अरुको अंक पर्खंदा डर लागिरह्यो । नर्भस भएँ । प्रार्थना गरिरहें । अन्त्यमा अरुको अंक आएपछि मैले स्वर्ण जितेको थाह पाएँ । अनि यो मन उडिरह्यो ।’ उनले १२ औं सागमा रजत पदक हात पार्ने क्रममा ८.७२ अंक बनाएकी थिइन् । भारतकी सपना देवीले ९.४५ अंकसहित स्वर्ण जितेकी थिइन् ।
‘यसपालि प्रतिद्वन्द्वी राम्रै थिए । सागमा नयाँ भएकाले उनीहरूले यस्तो गर्छन् भन्ने अनुमान थएन, डरचाहिँ थियो,’ दुई संस्करणको पदक सम्झिँदै सुस्मिताले भनिन्, ‘त्यो बेला (२०१६) म सानै थिएँ । लामा (प्रकाश) गुरुले समय लाग्छ, समय लाग्छ भनिरहनुहुन्थ्यो । ठूलो भएपछि मसलहरू त्यसरी नै विकास हुँदोरहेछ । थाउलुमा कोरियोग्राफी महत्त्वपूर्ण हुन्छ । पहिलाभन्दा मेरो जम्पिङ र मुभमेन्ट राम्रो भएको छ ।’
एभरेस्ट कलेजमा बीबीएम तेस्रो सेमेस्टरमा अध्ययनरत उनले यसपालिको प्रदर्शनबारे भनिन्, ‘अंक ९.४ कै स्तरमा ल्याउनुपर्छ किनभने पहिला स्वर्ण विजेताले त्यति ल्याएकी थिइ भन्ने थियो । जब मेरो अंक आएपछि सोचेकै जस्तो भएछ भन्ने लाग्यो ।’ उसु खेलिरहेका दाइ मनोज बहादुरलाई पछ्याउँदै ११ वर्षअघि खेलमा लागेकी चाँगुनारायणकी उनलाई साथ दिन उसु र लेजका साथीहरू खेलस्थलमा हुटिङ गरिरहेका थिए । बुवाआमाले कामले व्यस्तले खेल हेर्न नभ्याएको उनले बताइन् । हाल दिल्लीमा सीए अध्ययनरत मनोजले पढाइमा केन्द्रित हुन खेल
छाडेका थिए ।
एउटै ॅब्याच’
सुस्मिताले १२ औं सागअघि एसियाली खेलकुद २०१४ पनि खेलेका थिए । विजयको भने सिनियरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता सिलोङ यात्रा नै हो । यी दुई त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । दुवै जना गत असारमा नेपाली सेनामा भर्ती भएका थिए । सुस्मिता ०६८ सालको छैटौं राष्ट्रिय खेलकुदबाट स्वदेशमा च्याम्पियन भएका थिए भने विजयले पहिलो स्वर्ण लुम्बिनी च्याम्पियनसिप २०७० मा हात पारेका थिए । त्यसयता सुस्मिता अपराजित छिन् भने विजय एसियाडको छनोटमा ५ वर्षअघि हारेयता अजेय छन् ।
विजयले पनि दाइ (विशाल) लाई पछ्याउँदै उसु सिक्न थालेका थिए । आमाले दाजुभाइलाई सँगै उसु खेल्न पठाउँदा विजय करिब ३ वर्षका मात्रै थिए । उनको काम सिक्नेभन्दा समय बिताउनेमै हुन्थ्यो । केही महिना गएनन् । ५ वर्षको भएपछि उसुमै फर्किएदेखि यसैमा कौशल निखार्दै छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका विशाल १३ औं सागमा निर्णायकको भूमिकामा छन् । तर, उनले भाइको स्पर्धामा
जिम्मेवारी पाउँदैनन् ।
विजयले भने, ‘प्रशिक्षक युवराज गुरुङलाई हृदयदेखि सम्झन्छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु । उहाँले सानैबाट नसिकाएको भए यो ठाउँमा हुन सक्दिनथे । कोच प्रकाश लामा र सागर गुरुलाई पनि धेरै धेरै धन्यवाद । दुख कष्टले ट्रेनिङ दिलाएर यहाँसम्म ल्याउनुभयो । आर्मीका राजीव महर्जन र सुरुका कोच चित्र मगरलाई पनि धन्यवाद ।’ सुस्मिताले पनि भनिन्, ‘सुरुका सत्य भडेल, साजन देशमरुसहित सबै गुरुहरू र जुडो संघलाई धन्यवाद ।’
यो सागबारे विजय बोले, ‘प्रतिद्वन्द्वी कठिन नै थिए । म नर्भस भएको थिए । अहिले खुसी छु, नेपालको लागि स्वर्णपदक जित्नसके ।’ उनले थपे, ‘अरुको हेर्नेभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने सोचेको थिए । अरूको खेल हेरेर म आत्मविश्वास गुमाउन चाहन्नथे । विश्व च्याम्पियनसिपमा गरेजस्तो राम्रो भने गर्न सकिएन । तर, खासै नारम्रो गरिन ।’ उनी दुई महिनाअघि सांभाईमा भएको विश्व च्याम्पियनसिपमा ९.४२ अंक जोड्दै ८८ खेलाडीमध्ये १६ औं स्थानमा रहेका थिए ।
पाँच खेलाडीमध्ये अन्त्यमा एरिनामा उत्रिएका उनले नतिजाको प्रतिक्षाबारे भने, ‘दबाब थियो नै बाहिरबाट गुरुहरूले ( छातीमा हात राख्दै) भनेपछि ढुक्क भए । अनि अंक देखाएपछि सर्लक्क भए । लामो श्वास लिए ।’ उसुमा यसपाली पहिाले स्वर्ण जितेका उनले थपे, ‘जुन बेलासम्म सक्छु, त्यो बेलासम्म नेपाललाई पदक दिलाइरहन्छु ।’
थाउलुका प्रशिक्षक प्रकाश लामाले भने, ‘विजय र सुस्मिताले राम्रो गरे । लक्ष्यअनुसार ९.३ अंक कटाए । उनीहरू योभन्दा राम्रो गर्नसक्ने खेलाडी हुन् । दुवैले निक्कै सुधार गरेका छन् । यस्तै लामो अवधिको ट्रेनिङलाई निरन्तरता दिनसके एसियाली स्तरमै पदक दिलाउन सक्छन् ।’
आज २ स्वर्णको टुंगो
थाउलुमै दुई स्पर्धाको छिनोफानो बुधबार हुँदैछ । दीपक हमालले नानछ्वान अलराउन्ड र हरिप्रसाद गोले थाइची छ्वान अलराउन्डमा प्रतिस्पर्धा गर्दैछन् । मंगलबार भएको नानछ्वानमा दीपक ९.७० अंकसहित शीर्षस्थानमा छन् भने हरि थाइची छ्वानमा ९.४४ सहित तेस्रोमा । बुधबार दीपकले नानकुन र हरिले थाइची चियनमा प्रदर्शन गर्नेछन् । ‘हरिको अन्तर त्यति धेरै छैन, जे पनि हुनसक्छ । उनले राम्रो गर्नेमा विश्वस्त छु,’ प्रशिक्षक लामाले भने, ‘दीपक राम्रो अवस्थामा छन् । हेलचेक्र्याइँ गर्नुहुँदैन । दोस्रो दिन पनि उत्कृष्ट प्रदर्शन गर्दै उनले राम्रो नतिजा ल्याउनेछन् ।
१२ औं सागमा स्वर्ण जितेकी निमा घर्तीमगरले नान छ्वान अलराउन्डको नान ताओमा मंगलबार ९.३१ अंकसहित शीर्षस्थान कब्जा गरेकी छन् । थाइची
छ्वान अलराउन्डमा मीना ग्लान ९.१७ सहित दोस्रोमा छिन् । उनले बुधबार श्रीलंकाली खेलाडीलाई उछिन्ने प्रयास गर्नेछिन् । निमाको स्पर्धाको फैसला बिहीबार हुनेछ । विश्व बुढामगरको ताउसु कुन्सुको स्पर्धा
बुधबार सुरु हुँदै छ । सान्सौंको सुरुआती प्रतिस्पर्धा पनि बुधबार नै हुनेछ ।

१३ औं दक्षिण एसियाली खेलवुद

सुनीता र नवीनको उत्कृष्ट प्रदर्शन

- विनोद पाण्डे
पाकिस्तानीविरुद्ध इप्पोन हान्दै नेपालका नवीन रसाइली । स्वर्ण चुम्दै नवीन र सुनीता महर्जन ।तस्बिर ः हेमन्त श्रेष्ठ/कान्तिपुर

(काठमाडौं) - दक्षिण एसियाली खेलकुद (साग) मा कराते पछिल्लोपल्ट २०१० मा बंगलादेशमा समावेश थियो । महिलातर्फ तीन तौल समूह राखिएको थियो । ४५ केजीमुनिमा नेपाली टोली प्रक्रियामै अलमलियो र दर्ता गर्न चुक्यो । नेपाल समावेश नभएको फाइदा उठाउँदै बंगलादेशी खेलाडीले स्वर्ण जितिन् ।
मोरेउम खातुन ढाका सागको सफलतामा अर्को स्वर्ण थप्ने दाउमा थिइन् । निकै अनुभवी उनी सम्भवतः अन्तिमपल्ट साग खेलिरहेकी थिइन् । मंगलबार सातदोबाटो कराते हलमा उनले ढाका जस्तो वातावरण पाइनन् । उनको पहिलो भेट नै नेपाली खेलाडी सुनीता महर्जनसँग भयो । ६७ केजीमुनिको यो स्पर्धामा उत्रँदा खातुनले
आफ्नो धार गुमाइसकेकी थिइन् भने सुनीताले आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेकी थिइन् ।
सुनीता १० सेकेन्ड बाँकी हुँदै १०–२ अंकको अग्रता बनाई टेक्निकली आधारमा विजयी भइन् । ८ अंकको अग्रता लिएमा त्यो खेलाडी स्वतः विजयी हुने प्रावधानमा सुनीता फाइनल पुगिन् । सुनीताले आफ्नो उत्कृष्ट लय फाइनलसम्म कायमै राखिन् । फाइनलमा उनले पाकिस्तानकी कुलसुमलाई ८–२ ले पराजित गरिन् ।
खातुन परिवारमाथि नेपालको यो दोस्रो फाइनल विजयी थियो । सोमबार उनकी बहिनी मोन्जेरा बोर्ना खातुनलाई ३–२ ले पराजित गरी कुसुम
खड्काले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । बंगलादेश सागमा स्वर्ण जित्न चुकेकी अनु अधिकारीले सोमबार नेपालले जितेको ७ मध्ये अन्तिम स्वर्ण जितेकी थिइन् ।
२६ वर्षीया सुनीतालाई स्वर्ण जित्न अनुले जितेको त्यही स्वर्णले झकझकायो । ‘हिजो पनि हामीले पहिलो खेल हारेका थियौं र अनु (अधिकारी) दिदीले अन्तिम खेल नकआउट हानेर जित्नुभएको थियो । मलाई पनि मेरो अन्तिम खेल हो स्वर्ण मैले नै जित्ने भन्ने परिसकेको थियो,’ १५ वर्षदेखि कराते खेल्दै आएकी उनले भनिन्, ‘अरू आत्मविश्वाससाथ खेल्दा मलाई पनि जित्छु जस्तो लागिरहेको थियो ।’
उनले यसअघि दुईपटक २०१० मा भुटान र तीन साताअघि बंगलादेशमा दक्षिण एसियाली कराते च्याम्पियनसिप खेलेकी थिइन् । ‘यहाँसम्म आइपुग्न मलाई गाह्रो भयो, धेरै दुःख गर्नुपर्‍यो । दुःख गरेको जस्तो नतिजा आइरहेको थिएन केले हो खोइ । केही मिलिरहेको थिएन । मलाई यसपटक डर नभएको होइन,’ उनी आफ्नो संघर्षका दिन सम्झिरहेकी थिइन् । आफ्ना बुवा र श्रीमान्लाई प्रत्यक्षदर्शी बनाउँदै सुनीताले स्वर्णको बाजी मारेकी थिइन् ।
एक उत्कृष्ट फाइट
करातेबाट दिनको खेलमा दोस्रो स्वर्ण दिलाउने नवीन रसाइली थिए । त्यसका लागि उनले आफ्नो खेलजीवनको उत्कृष्ट भिडन्त खेलेका थिए, सम्भवतः त्यो नेपाली करातेकै उत्कृष्ट फाइट पनि थियो । बंगलादेशका मोहम्मद फेडोउसलाई पहिलो खेलमा पराजित गर्न उनले खासै संघर्ष गर्नुपरेन । ८–२ को स्कोरमा नतिजा आफ्नो पक्षमा पारे ।
फाइनलको स्कोरले नै यो उत्कृष्ट भिडन्त थियो भन्ने पुष्टि गर्छ । पाकिस्तानका अहमद नासिरले २–० को अग्रता लिए । नवीनले १–२ को स्कोर बनाएपछि इप्पोन प्रहार गरे । स्कोर ४–२ नवीनको पक्षमा आयो । नवीन एक समय ७–२ ले अगाडि थिए । नासिरले पनि इप्पोन हान्दै ५–७ को स्कोरमा ल्याए । दुवै खेलाडीले २–२ पटक चेतावनी पाइसकेको अन्तिम अवस्थामा नवीनले ८–६ को अग्रता बनाए ।
३ मिनेटको समय सकिनु र नासिरले इप्पोन हान्नु एकैपल्ट जस्तो भएको थियो । नासिरका प्रशिक्षकले रिभ्यु लिए । तर समय सकिएको भन्दै उनको सुनुवाइ भएन । नासिर निराश थिए । पाकिस्तान कराते संघका प्रतिनिधि गुनासो गर्न पुगेका थिए । नवीन भने स्वर्ण जितेपछि उत्तानो परेर म्याटमा ढले ।
‘फाइट निकै कठिन थियो, जेहोस् प्रतीक्षाको फल मीठै भयो । खेल पनि राम्रो भयो । फाइनलमा पाकिस्तानी खेलाडी मात्र नभएर मेरो उमेरमा खेल्ने सबै राम्रा थिए । सबै प्रतिद्वन्द्वीले स्वर्णको आस गरेको जस्तो देखिन्थ्यो । राम्रो खेलाडीलाई हराएर स्वर्ण जित्नुको आनन्द पनि अर्कै हुँदोरहेछ,’ नवीनले भने, ‘खेल यस्तो प्रतिस्पर्धात्मक हुँदा मैले अभ्यास गर्दा, मिहिनेत गर्दा गरेको आफ्नो संघर्ष याद गरेको थिएँ । साग खेलकुदसम्म पुग्न हामीले निकै संघर्ष गर्‍यौं ।’
‘त्यो क्षणलाई जसरी हुन्छ झेल्नै पर्‍यो । दबाबमा पर्दा त दिमाग शून्य नै हुन्छ, तर त्यस्तो गर्नु त हुँदैन । त्यस्तो अवस्था कसरी झेल्नेतर्फ लाग्नुपर्छ,’ नवीन फाइनल खेलको वर्णन गर्दै थिए, ‘मभन्दा उनी होचा थिए । मेरो दाहिने किक चल्थ्यो, त्यसैले २–० हुँदासम्म उनलाई हराउँछु भन्ने थियो । उनलाई जिस्काउँदै मैले इप्पोन हानेको हुँ । दबाबमा आएपछि म होस हराए जस्तो भएको थिएँ । सजिलै जितेको खेल संघर्षपूर्ण भयो ।’
आठौंको नजिक
नेपालले आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा १४ स्वर्ण जितेको थियो । त्यसयताको यो उत्कृष्ट प्रदर्शन हो । नेपालले करातेको १३ मध्येको ९ स्वर्ण जितिसकेको छ । बुधबार बाँकी चार स्पर्धाको नतिजा आउनेछ । अघिल्लो दिन नेपालबाट मन्डेकाजी श्रेष्ठ, नेपाली टिम काता पुरुष र महिला, लक्ष्मण तामाङ, विप्लवलाल श्रेष्ठ, कुसुम खड्का, अनु अधिकारीले स्वर्ण जितेका थिए ।
नेपालले मंगलबार करातेमा २–२ रजत र कांस्य थपेको हो । ६० केजीमा राजीव पुडासैनीले पहिलो खेलमा खामसुन चोइटेनलाई डेढ मिनेटमा ८–० को स्कोर गर्दै पराजित गरे । तर सेमिफाइनलमा उनी बंगलादेशका मोहम्म अल अमिलसँग ५–७ ले पराजित हुन पुगे र कांस्यमै चित्त बुझाए । ५५ केजीमुनिमा मनीषा चौधरी पहिलो खेलमै पाकिस्तानकी मार्जन अख्तरसँग २–१ ले पराजित भई कांस्य पदकमै रोकिइन् । अख्तरले बंगलादेशकी खेलाडीलाई पराजित गरी स्वर्ण पदक जितिन् ।
अनु गुरुङ र गंगाराम कुसुवार फाइनलमा पराजित भए । पहिलो खेलमा श्रीलंकाका जयाकोडी डोनामाथि ६–१ को जित हात पारेकी अनु फाइनलमा बंगलादेशकी हुमइरा अख्तरसँग ५–२ ले पराजित हुन पुगिन् । गंगारामले पनि पहिलो खेलमा प्रभावशाली जित हात पार्नेक्रममा भुटानका शेराब वोङचुकलाई ७–१ ले पराजित गरे । तर यूएईमा व्यावसायिक फाइट खेलिरहेका घुलाम अब्बासको अगाडि फाइनलमा उनको केही लागेन । उनी ५० सेकेन्ड अगाडि नै अब्बाससँग ८–० को अन्तरमा नकआउट भए ।

१३ औं दक्षिण एसियाली खेलवुद

लय समातेको नेपाल

- हिमेश
भुटानविरुद्ध सुजल श्रेष्ठले गोल गरेपछि ।

(काठमाडौं) - नेपालका लागि भुटान अब फुटबलमा पहिलेजस्तो सजिलो प्रतिद्वन्द्वी रहेन । तर अझै प्रिय प्रतिद्वन्द्वी भने हो । किनभने नेपालले भुटानविरुद्धको खेल भनेपछि राम्रो खेल्छ, भुटानले नेपाल भनेपछि आत्तिएर खेल्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मंगलबार पुरुष फुटबलमा यी दुई देशबीचको खेलको वास्तविक कथा यही रह्यो । यो कथा हो, दशरथ रंगशालामा नेपाली फुटबल औपचारिक रूपमा फर्केको
अवसर पनि ।
भूकम्प गएयता नेपालका खेलाडीले दशरथ रंगशालामा खेल्न पाएको यो नै पहिलोपल्ट हो । यही निहुँमा विशेषतः नेपाली यू–२३ का खेलाडी खुसी देखाए । यो खुसीलाई खेलाडीले मैदानमा राम्रो प्रदर्शनमा परिणत पनि गरे । वास्तवमा यो खेल नेपालले लय समातेको अवसर थियो । नेपालको फुटबल हेर्न लामो समयपछि दशरथ रंगशाला पुगेका ७ हजार दर्शक पनि खुसी रहे । प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘दशरथ रंगशालामा फुटबल खेल्न पाउनु नै सबैभन्दा ठूलो खुसी हो ।’
अझ कप्तान सुजल श्रेष्ठले यतिसम्म भने, ‘फुटबल खेलाडीको रूपमा हामी जन्मेहुर्केको नै यहीं हो ।’ सुरुमै सुजलको गोलले अग्रता लिएपछि नेपालले भुटानमाथि दबाब सिर्जना गर्न सफल रह्यो । भुटानी डिफेन्डर जिग्मे छिरिङ दोर्जेले आफ्नो पेनाल्टी एरियामा बल राम्रोसँग क्लियर गर्न नसकेपछि प्राप्त अवसरमा सुजलले छैटौं मिनेटमा नजिकको दूरीबाट प्रहार गर्दै गोल गरे । दोस्रो गोल सुजलकै नाममा
रह्यो । उनले ५१ औं मिनेटमा चलाखीपूर्ण गोल गरे ।
भुटानी गोलरक्षक किन्ले तेन्जिङ अगाडि बढेको मौका छोपेर उनले बललाई हल्का उचाइ दिए । त्यसले पोस्टको दिशा लियो । अभिषेक रिजालले ६६ औं मिनेटमा तेस्रो गोल गरे । सुनील बलको फ्रि–किकलाई अनन्त तामाङले हेड गर्दै पास मिलाए । त्यसैलाई अभिषेकले निर्णायक हेड गरे । मिक्चेन तामाङले गरेको चौथो गोल अझ सुन्दर थियो । उनले ७७ औं मिनेटमा प्राप्त फ्रि–किकमा बललाई घुमाउरो बाटो तय गर्न लगाए । त्यही बल सबैलाई छक्याउँदै पोस्टतर्फ प्रवेश गर्‍यो ।
खेलपछि भुटानी प्रशिक्षक पेमाले आफ्नो टिमको हारमा प्रस्तुत गरेको तर्क भने न्यायसंगत थियो । भुटानले २४ घण्टाभन्दा कम समयमा खेल्नुपरेको थियो, त्यसैले उनका खेलाडी थाकेका थिए । थाकेको सुरुमा भुटानी खेलाडीले राम्रो गर्न सकेनन् । भुटानले अघिल्लो दिनमात्र संघर्षपूर्ण खेलमा बंगलादेशलाई हराएको थियो । लगातार दुई खेलपछि अब भुटानले आरामको अवसर पाउनेछ भने नेपाल बुधबार नै श्रीलंकाविरुद्ध अर्को खेलमा ओर्लिने छ ।
भुटानी प्रशिक्षक पेमालाई रेफ्रीको निर्णयमा गुनासो थियो । मंगलबारै दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशले १–१ को बराबरी खेले । बंगलादेशले सुरुमा अग्रता लियो । त्यो आत्मघाती गोल
रह्यो । माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले ३० औं मिनेटमा त्यो दुर्भाग्यपूर्ण गोल गरे । माल्दिभ्सले ७० औं मिनेटमा बराबरी गोल फर्कायो । इब्राहिम महोदीले नजिकबाट यो गोलका लागि शक्तिशाली प्रहार गरेका थिए ।
नेपाल पाँच टिमसम्मिलित प्रतियोगिताको राउन्ड रोबिनको शीर्षस्थान छ । दुई खेलिसकेको भुटान भने समान ३ अंकमा दोस्रो स्थानमा छ । माल्दिभ्स लगातार दोस्रो बराबरीपछि २ अंक लिएर तेस्रोमा छ । १–१ अंकमा श्रीलंका र बंगलादेश छन् । शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा गर्नेछन् ।

१३ औं दक्षिण एसियाली खेलवुद

सरुको निर्णायक गोल

- कान्तिपुर संवाददाता

पोखरा (कास)– सरु लिम्बूको गोलमा श्रीलंकाविरुद्ध नेपालले १३ औं सागको महिला फुटबलमा मंगलबार विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा उनले ८८ औं मिनेटमा एकमात्र गोल गरेर नेपाली दर्शकलाई खुसी तुल्याइन् । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेकी उनले नेपाललाई ३ अंक दिलाइन् । यो जितसँगै नेपालले उपाधि प्रतिस्पर्धाको होड बलियो बनाएको छ ।
पहिलो हाफ हुनुअघि दीपा राईको स्थानमा सरु मैदान छिरेकी हुन् । अघिल्लो सागमा नेपालले श्रीलंकालाई ४–० ले हराएको थियो । राउन्ड रोविनमा खेलाइएको प्रतियोगितामा अब नेपालले भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
खेलपछि नेपाली प्रशिक्षक हरि खड्काले श्रीलंका रक्षात्मक खेल्दा गोलको अवसर सिर्जना नभएको बताए ।

१३ औं दक्षिण एसियाली खेलवुद

टेबलटेनिसमा रजत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– १३ औं दक्षिण एीसयाली खेलकुदमा टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले रजत पदक जितेको छ । मंगलबार लैनचौरस्थित टेबलटेनिस कोर्टमा भएको फाइनलमा नेपाल टिम भारतसँग ३–० सेटमा पराजित भएको थियो । नेपालले टेबलटेनिसमा लामो समयपछि रजत पदक जितेको हो ।
महिला टिम इभेन्टमा भने नेपालले कांस्य पदक जितेको थियो ।

१३ औं दक्षिण एसियाली खेलवुद

डबल्समा सुधार

- कान्तिपुर संवाददाता

पोखरा (कास)– ब्याडमिन्टनमा एकलतर्फ खराब प्रदर्शन गरेको नेपालले डबल्स र मिक्स डबल्समा आफूलाई सुधारेको छ । १३ औं सागअन्तर्गत मंगलबार पोखरामा बिहानी सत्रको खेलका सबै सेट गुमाएका नेपाली खेलाडीले दिउँसोको खेलमा सुधारिएको प्रदर्शन गर्दै जित निकाले ।
पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जन क्वाटरफाइनल पुगेका छन् । यो जोडीले पाकिस्तानका मुकित ताहिर र अवाइज जाहिदको जोडीलाई ३–१ को सेटमा हरायो ।
महिला डबल्समा जेसिका गुरुङ र रसिला महर्जनको जोडी पनि क्वाटरफाइनल पुगेको छ । उनीहरूले पाकिस्तानकै शेरा अक्रम र जावेद हुमालाई २–१ को सोझो सेटमा हराए । मिक्स डबल्समा नेपालका विकास श्रेष्ठ र अनुमाया राईले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । उनीहरूले पाकिस्तानका राजा मोहम्मद हसिन र शेरा अक्रमको जोडीलाई २–१ को सोझो सेटमा हराएको हो । डबल्स र मिक्स डबल्सबाहेक सिंगल्समा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । सिंगलतर्फ कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् । दीपेश धामी, रसिला महर्जन, नङसलदेवी तामाङ पराजित भए ।

Page 17
१३ औं दक्षिण एसियाली खेलवुद

जितनजिक पुगेर चुक्यो नेपाल

- हिमेश
रजत पदकमा चित्त बुझाएको नेपाली महिला भलिबल टिम । मंगलबार फाइनलमा नेपाल भारतसँग पराजित भयो । तस्बिर ः केशव थापा/कान्तिपुर

(काठमाडौं) - नेपाली महिला भलिबलले यही अनुभव गरेको हुनुपर्छ, सफलता कति नजिक तर अझै कति टाढा ? १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपालसामु स्वर्ण पदक जित्ने यतिको राम्रो अवसर फेरि दोहोरिएर आउने छैन । आखिरमा भारतमाथि अग्रता लिएर पनि खेल गुमाउन बाध्य हुन्छ भने त्यो पीडादायी हार नै हुन्छ । नेपाल मंगलबारको खेलमा यस्तै स्थितिबाट गुज्रियो । नेपाली खेलाडीले आफ्नो भावना पनि रोक्न सकेनन् ।
उनीहरूले दशरथ रंगशालाको कभर्डहलमै आँसु रोक्न सकेनन् । त्यसको ठीकविपरीत भारतीय खेलाडीको खुसी हेरिनसक्नु थियो । आखिरमा उनीहरूले सम्झनालायक जित निकालेका थिए । हारले जहाँ नेपाल रजत पदकमै रोकियो, त्यहीं भारतले महिला भलिबलमा फेरि एकपल्ट स्वर्ण पदक जित्न सफल रह्यो । अझ यो डिफेन्डिङ चाम्पियनले आफ्नै भूमिमा भएको पछिल्लो सागमा हात पारेको उपाधिको सानदार ढंगले रक्षा गर्न पनि सफल छ ।
‘आज हामी जितको निकै नजिक पुगेर पनि पराजित रहन बाध्य रह्यौं । यसमा मलाई धेरै दुःख छ । यो हारको सबै जिम्मेवारी म आफैं लिन्छु । तर हामीले जितेको रजत पदक पनि ठूलै उपलब्धि हो । केही समय अगाडिसम्म पनि भारतविरुद्ध हामी लगातार हारिरहेको थियौं र स्कोर पनि निकै कमजोर हुने गर्थ्यो । तर अहिले हामी त्यही भारतलाई ५ सेटसम्म दोहोर्‍याउने सक्ने टिम भएका छौं । यो अर्थमा भने मलाई नेपाली टिमको प्रदर्शनमा खुसी छ,’ नेपाली टिमका प्रशिक्षक जगदीश भट्टले भने ।
फाइनलमा भारतले पहिलो सेटमा २५–१७ ले जितेको थियो । त्यसबेला धेरैको अनुमान थियो, अब खेल सजिलै भारतले जित्नेछ । तर खेलले त्यतिबेला नाटकीय मोड लियो, जतिबेला नेपालले त्यसयताका दुई सेट जित्यो । नेपालले दोस्रो सेट २५–२३ ले जित्यो । खेल बराबरीमा ल्यायो । नेपालले तेस्रो सेट पनि २५–११ ले जितेपछि त कभर्डहलमा सनसनी नै मच्चिएको थियो । सबैलाई लाग्न थालेको थियो, सायद नेपाल स्वर्ण नजिक पुगेको छ ।
तर खेलमा अझै थप मोड बाँकी नै थिए । नेपालले चौथो सेट २५–२० ले गुमायो । त्यसयता नेपाली खेलाडी आत्तिएका देखियो र उनीहरूले आफूलाई सम्हाल्न पनि सकेनन् । अन्तिम सेटमा नेपाल १५–६ ले सजिलै पराजित रह्यो । नेपाली खेलाडी यसअघि यस्तो मोडमा पुगेका थिएनन्, त्यसैले उनीहरू भावनात्मक बने । भारतको प्रदर्शन भने व्यावसायिक खेलाडीको जस्तो थियो । सुरुआती तीन सेटपछि पछाडि परेर पनि उनीहरूले उत्कृष्ट पुनरागमन रचे । नेपालका लागि फाइनल ठूलो शिक्षाका रूपमा रह्यो । प्रशिक्षक भट्टले पनि माने, अबका दिन नेपाली महिला भलिबलका लागि अझ राम्रो हुनेछ । कप्तान अरुणा शाहीले केही फरक मत प्रस्तुत गरिन् । उनका अनुसार टिमको हारमा कोही दोषी छ भने ती सबै खेलाडी नै हुन् । उनले भने, ‘खासमा हामी हाम्रै कमजोरीले हारेका थियौं । आज भारतलाई हराएर ऐतिहासिक स्वर्ण जित्ने अवसर थियो, तर त्यसलाई हामीले गुमायौं । त्यसैले दुःखी छौं ।’

१३ औं दक्षिण एसियाली खेलवुद

क्रिकेटमा पराजित

- राजेन्द्र नाथ

(काठमाडौं) - उपकप्तान दीपेन्द्रसिंह ऐरीको अविजित ७२ रन मदतमा श्रीलंकाविरुद्ध नेपालले सम्मानजनक स्कोर बनाए पनि खराब फिल्डिङका कारण पहिलो खेल गुमाएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा मंगलबार श्रीलंकाको २३ वर्ष उमेरमुनिको टोलीसँग नेपाल घरेलु मैदानमै चुकेको हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाले १९.१ ओभरमा ४ विकेट क्षतिमा पूरा गर्‍यो ।
नेपालको हारमा खराब फिल्डिङ पनि कारक मानिएको छ । महत्त्वपूर्ण खेलमा नेपाली खेलाडीले बाउन्ड्रीमा तीनवटा क्याच ‘मिस’ गरे । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले फिल्डिङमा केही कमजोरी भएको स्वीकारे । श्रीलंकासँग ६ विकेटले पराजित नेपालको फाइनल यात्रा अब अन्य टोलीको नतिजा र रनरेटमा निर्भर हुनेछ ।
श्रीलंकाको जितमा साम्मु आसानले ४ चौका र ५ छक्का हान्दै ७२ रन बनाएर अविजित रहे । ओपनर निशान मदुस्काले ४२ बलमा ५ चौका र १ छक्कासहित ४६ रन बटुलेका थिए । निशानलाई पवन सर्राफले १७ औं ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए । तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले पाथुम निसंकालाई ३० रनमा क्याच आउट गराए । पवन सर्राफले कामिन्दु मेन्डिसलाई १ रनमा स्टम्पिङ आउट गरे । सुसन भारीले चारिथा आसालांकालाई ६ रनमा करण केसीबाट क्याच गराए । त्यसपछि नेपाली बलर श्रीलंकनका सामु फिक्का साबित भए ।
दर्शकले खचाखच भरिएको टीयू खेलमैदानमा टस हारेर नेपालले ब्याटिङ निम्तो पाएको थियो । उसले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । उपकप्तान दीपेन्द्रसिंह ऐरी ४ चौका र ३ छक्कासहित अविजित ७२ रन बनाए । पवन सर्राफ २२ रनमा क्याच आउट भए । पाँचौं विकेटका लागि पवन र दीपेन्द्रले ६२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए । ओपनर पारस खड्कालाई काविष्का अन्जुलाले दोस्रो ओभरको दोस्रो बलमै विकेटकिपर निशान मदुस्काबाट १ रनमा क्याच आउट गराए । दोस्रो विकेटमा आरिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गर्दै नेपालको इनिङ्स केही उकासे ।

१३ औं दक्षिण एसियाली खेलवुद

वीर र काजललाई स्वर्ण

- कुशल तिमल्सिना
तेक्वान्दोमा स्वर्ण जितेपछि भावुक बनेकी काजल श्रेष्ठ ।
तस्बिर ः इलिट जोशी/कान्तिपुर

(काठमाडौं) - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोतर्फ दोस्रो दिन नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको छ । सोमबार पुम्सेतर्फ नेपालले ७ स्वर्ण १ रजत र ५ कांस्य जितेको थियो । मंगलबार पुरुष ६८ केजीमुनि तौलमा वीरबहादुर महरा र महिला ४६ केजीमुनि तौलमा काजल श्रेष्ठले स्वर्ण जिते । दुवैको सागमा पहिलो स्वर्ण हो ।
सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीको हलमा काजलले भारतकी राधा भाटीलाई ५०–३९ स्कोरले पराजित गरी फाइनल पुगेकी थिइन् । उनी बाइ पाएर सिधै सेमिफाइनल पुगेकी हुन् । फाइनलमा २२ वर्षीया काजलले सानदार प्रदर्शन गरिन् ।
पाकिस्तानकी सयेद जादी सिद्रा बाटुलसँग उचाइको बेफाइदाका बाबजुद उनको प्रदर्शन उच्चस्तरको थियो । तीन वर्षदेखि आर्मी क्लबबाट व्यावसायिक तेक्वान्दो खेल्दै आएकी उनले आफूभन्दा अग्लो कदकी बाटुललाई ५०–१४ को एकपक्षीय स्कोरमा पराजित गरिन् । पहिलो राउन्डमा १४–९ ले अगाडि रहेकी काजलले दोस्रो राउन्डमा लगातार किक प्रहार गरी पाकिस्तानीलाई अवसर नै छाडिनन् । उनले यो राउन्ड २३–१ ले जितेकी हुन् । तेस्रो तथा अन्तिम राउन्डमा पनि १३–४ को नतिजासहित करिअरको पहिलो स्वर्ण जितिन् ।
स्वर्ण जितेपछि निकै बेरसम्म रोएकी काजलले भावुक अभिव्यक्ति दिइन् । ‘म धनी परिवारबाट आएको होइन । मेरा मम्मी/बाबाले धेरै संघर्ष गरेर यो दिन देख्न पाउनुभएको छ,’ उनले भनिन्, ‘मेरो बाबा ११ वर्षदेखि साउदी अरबमा काम गरिरहनुभएको छ, उहाँको सपना अहिले पूरा गर्न सकेको छु, यो स्वर्ण साउदीमा रहनुभएको मेरो बाबाका लागि ।’
काजलले सागमा आफूले सोजेजस्तै प्रदर्शन भएकोमा खुसी व्यक्त गरिन् । ‘भारत र पाकिस्तान पनि तेक्वान्दोमा निकै राम्रो छ । मैले पहिलो प्रतिस्पर्धी भारतका खेलाडीलाई हराएको थिएँ, दोस्रोमा पाकिस्तानी अग्लो थिइन्, तेक्वान्दोमा अहिले उचाइको फाइदा धेरै छ । तर दुवै प्रतिस्पर्धामा मैले जस्तो सोचेको थिएँ । त्यस्तै खेल भयो,’ उनले भनिन् ।
काजलको अबको लक्ष्य एसियाली च्याम्पियनसिपमा स्वर्ण जित्ने हो । एउटा लक्ष्य पूरा भएको छ र अबको नयाँ लक्ष्यका लागि पनि अधिक मिहिनेत गर्ने उनको योजना छ । जुनियर विश्व च्याम्पियनसिप खेलेयता उनी सिनियर टोलीमा स्थान बनाउन संघर्षरत थिइन् । यसपल्ट पहिलोपल्ट सिनियर टोलीमा परेलगत्तै उनले स्वर्ण जित्न सकेकी हुन् । गत महिना चाइना ओपन तेक्वान्दोमा उनले कांस्य जितेकी थिइन् ।
वीरबहादुरले स्वर्ण जित्ने क्रममा पाकिस्तानका मुहम्मद फहिममाथि ४१–३६ को स्कोरमा जित निकाले । पहिलो राउन्ड १५–१३ ले जितेका उनी दोस्रो राउन्डमा १३–८ को आरामदायी अवस्थामा पुगे । तेस्रो राउन्डको अन्तिम १ मिनेट ४१–२७ को अग्रतामा रहेका वीरले रक्षात्मक बन्ने प्रयास गर्दा फहीमले फाइदा उठाए । स्कोरमा अधिक अन्तर भएका कारण वीरलाई उछिन्न सकेनन् । वीरले समग्रमा ४१–३६ को स्कोरसहित मंगलबार सागमा स्वर्ण सपना पूरा गरे । यसअघि सेमिफाइनलमा उनले भारतका पृथ्वीराज चौहानमाथि ३२–२४ स्कोरको जित निकालेका थिए ।
‘१२औं सागमा मैले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएँ, फाइनलमा पराजित भएपछि अर्कोपल्ट जित्छु भन्ने सोच थियो,’ स्वर्ण विजेता वीरले भने, ‘यसपल्ट घरमै प्रतियोगिता हुँदै थियो, स्वर्ण पदक सोचेर खेलेको थिएँ, भनेजस्तै भयो ।’ वीरले स्वर्ण आफूलाई यो सफलताको हकदार बनाउने सबैसँग बाँड्न चाहेको सुनाए ।
वीरले तीन वर्षअघि भारतमा समपन्न १२ औं सागमा फाइनलमा पुगेर पनि स्वर्ण जित्न असमर्थ थिए । नयाँ प्रतिद्वन्द्वीविरुद्ध आफ्नो रणनीति सफल भएकोमा उनी दंग छन् ।
नेपालले स्वर्णको अपेक्षा गरेको अर्को स्पर्धा महिला ५७ केजीमुनि निमा गुरुङ स्वर्ण जित्न असमर्थ रहिन् । उनी लगातार दोस्रो सागमा फाइनलमा पराजित भएकी हुन् । सेमिफाइनलमा पाकिस्तानकी नक्स हम्दानीलाई ३५–१५ को स्कोरमा सहजै पराजित गरेकी उनी फाइनलमा
भारतकी कासिस मलिकसँग ८–७ को झिनो स्कोरमा पराजित रहिन् । तेस्रो राउन्डको अन्तिम ३६ सेकेन्ड बाँकी हुँदासम्म निमा ७–५ ले अगाडि थिइन् । त्यसयता हड्बडाएकी उनले ३ अंकको किक भेटिन् । फलतः हातैमा आएको स्वर्ण गुम्यो ।
पुरुष ५४ केजी तौलसमूहमा
मनोज मल्लको नियति झन् खराब
रह्यो । पहिलो चरणमा भुटानका तेन्जिन दोर्जीलाई २४–१४ स्कोरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका उनी पाकिस्तानका शाजइवसँग ३७–१४ को स्कोरमा पराजित हुन पुगे । उनै साजइवले फाइनलमा श्रीलंकाका रेहना अरुणा बन्दरालाई ४७–१५ को स्कोरमा सहज जित निकाल्दै स्वर्ण जिते ।
तेक्वान्दोका २९ स्वर्णमध्ये १७ स्वर्णको छिनोफानो भएको छ । त्यसमा नेपालले ९ स्वर्ण, २ रजत र ६ कांस्य जितेको छ । पुम्से विधामा १३ स्वर्णका लागि भएको स्पर्धामा नेपालले ७ स्वर्ण, १ रजत र ५ कांस्य जितेको थियो । तेक्वान्दोमा बुधबार ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

Page 18
१३ औं दक्षिण एसियाली खेलवुद

मागेको ट्राइसुटमा स्वर्ण

- दीपक परियार

(पोखरा) - खेल हुनुभन्दा २ दिनअघि बल्ल ट्राइसुट (ट्रायथलनमा प्रयोग हुने पोसाक) आइपुग्यो । भारतबाट आएका पोसाकको नाप ट्रायथलनका खेलाडीलाई मिलेन । ट्रायथलनअन्तर्गतकै दुवाथलनमा भाग लिन नेपालका हिमाल टमाटाले स्वर्ण विजेता सोनी गुरुङसँग ट्राइसुट मागे । उनै सोनीले अर्कै साथीसँग मागिदिएको ट्राइसुट लगाएर हिमालले मंगलबार देशको नाममा स्वर्ण जिते ।
फेवा किनारमा दौडँदा ट्राइसुटमा न उनको नाम थियो, न देशको । एक महिना अघि नै लगाएर बानी पर्नुपर्ने पोसाक राखेपले दुई दिनअघि ल्यायो, त्यो पनि नमिल्दो । ‘जर्मनीबाट ल्याउनुपर्ने ट्राइसुट भारतबाट ल्याइएछ,’ दुवाथलनमा स्वर्ण जितेपछि हिमालले भने, ‘पोसाक नहुँदा तालिम पनि राम्रो गर्न पाइएन ।’ साइकल पनि ५ वर्ष पुरानो भएको गुनासो उनले गरे । पौडी, साइक्लिङ र दौड, तीनवटै विधामा मिल्ने पोसाक हो ट्राइसुट । ट्रायथलनका खेलाडीलाई उक्त पोसाक समयमै नआउँदा सोमबार सोनीले स्वीमसुट लगाएर ट्रायथलनमा स्वर्ण जितेकी थिइन् । राम्रो साइकल र उपकरण पाए नेपाली खेलाडीले अझै राम्रो गर्न सक्ने हिमाल बताउँछन् । ‘खेलाडीलाई मुख्य प्राथमिकता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘यहाँ देखावटी
धेरै भयो ।’
कञ्चनपुरका उनी सानैदेखि खेलकुदका गतिविधिमा संलग्न थिए । १५ वर्षकै उमेरमा सुदूरपश्चिमबाट राष्ट्रिय खेलकुदमा एथलेटिक्स र करातेमा सहभागिता जनाएका छन् । आठ वर्षअघि नेपाली सेनामा भर्ती भएपछि उनको रुचि साइक्लिङमा बढ्यो । सेनाका प्रशिक्षक राजीव चन्दले दुवाथलनमा लाग्न प्रेरणा दिए । उनले भारतको गुवाहाटीमा भएको १२ औं सागमा पनि टिम मिक्स रिलेमा रजत पदक प्राप्त गरेका थिए । आठौं राष्ट्रिय खेलकुदमा उनी दोस्रो भएका थिए । ‘अब एसियन गेम्समा पदक जित्ने धोको छ,’ उनले भने ।


ट्रायथलनमा एक खेलाडीले पौडी, साइक्लिङ र दौडमा सहभागी हुनुपर्छ । दुवाथलनमा भने दौड, साइक्लिङ र पुनः दौडमा खेलाडी सहभागी हुन्छन् । ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटर दौड उनले ५७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । उनलाई नेपालकै लक्ष्मण मल्लले पछ्याए । मल्लले उक्त दूरी ५९ मिनट १३ सेकेन्डमा पूरा गरेर रजत पदक पाए । आठौं राष्ट्रिय खेलकुदमा उनले हिमाललाई हराएर पहिलो भएका थिए । श्रीलंकाका असित परेराले ५९ मिनट ३२ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।
महिलातर्फ हुमी बुढामगरले समान दूरी १ घण्टा ८ मिनेट ५४ सेकेन्डमा पूरा गरेर रजत दिलाइन् । श्रीलंकाकी इरागा दुलाक्षीले १ घण्टा ५ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गरेर स्वर्णको खुसी मनाइन् । श्रीलंकाकै उदया कुमारीले १ घण्टा ९ मिनेट ९ सेकेन्डसाथ कांस्य हात पारिन् ।
पोखराको लेकसाइडमा भएको प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका २–२ खेलाडी सहभागी थिए । नेपालले यो सहित ट्रायथलनबाट २ स्वर्ण २ रजत र एक कांस्य जोडेको छ । बुधबार अन्तिम दिन नेपालले मिक्स रिलेमा प्रतिस्पर्धा गर्नेछ । नेपाली खेलाडी सोनी गुरुङले इलाइट स्प्रिन्टमा स्वर्ण हात पारेकी थिइन् भने वसन्त थारूले कांस्य जितेका थिए ।
पुरुषमा आशा गरेअनुसार नै नतिजा आएको बताउँदै ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सुनुवारले महिला खेलाडीमा केही कमजोरी देखिएको स्वीकार्छन् । ‘हामीले चाहेको र मागेको सामान परिषद्बाट समयमा आएन,’ उनले भने, ‘समयमा पाएको भए स्वर्ण थप्न सकिन्थ्यो ।’ बुधबार हुने मिक्स टिम रिलेमा स्वर्ण पदक आउने उनको आशा छ । पहिलोपल्ट अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी भएर रजत पदक जितेकी हुमीले खेलमा आवश्यक सामग्री समयमै उपलब्ध नहुँदा स्वर्णबाट टाढा भएको बताउँछिन् ।
नेपाली खेलाडीलाई उत्साहित बनाउन नेपाल ट्रायथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई १ लाख, रजत जित्नेलाई ५० हजार र कांस्यका लागि २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । टिम स्पर्धाका लागि पनि उक्त पुरस्कार रहेको घोषणा उनले गरे । गण्डकी प्रदेश सांसद
दीपक कोइरालाले स्वर्ण विजेता नेपाली खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेका छन् ।
बुधबार १ स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका खेलाडी मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक/एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौडको दूरी तय गरिएको छ ।
नेपालले सागअन्तर्गत ट्रायथलनमा सहभागिता जनाएको यो दोस्रोपल्ट हो । संघ स्थापनाको छोटो समयमै ट्रायथलनले राष्ट्रका लागि पदक दिलाउन सफल भएको छ । नेपालले ट्रायथलनमा पहिलोपल्ट सहभागिता जनाएको १२ औं सागमा एक रजत र एक कांस्य हात पार्न सफल भएको थियो । भारतको गुवाहाटीमा भएको उक्त सागमा रुद्र कुमाल, हिमाल टमाटा, रोजा केसी र यामकुमारी घले सम्मिलित टिमले मिक्स रिलेमा रजत प्राप्त गरेको थियो । पहिलोपल्टकै प्रयासमा ट्रायथलनबाट रोजा केसीले कांस्य पदक प्राप्त गरेकी थिइन् ।

१३ औं दक्षिण एसियाली खेलवुद

टंकले २६ वर्षपछि दिलाएको पदक

- कान्तिपुर संवाददाता
१५०० मिटरका कांस्य विजेता टंकबहादुर कार्की ।

काठमाडौं (कास)– १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली एथलेटिक्सका लागि मंगलबारको दिन विशेष रह्यो । धाविका सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जित्दा १५०० मिटर दौडमा टंकबहादुर कार्कीले कांस्य पदक जितेका छन् । दुवै पदकले आ–आफ्नै महत्व बोकेको छ । सन्तोषी महिलाको तर्फबाट पहिलो स्वर्ण जित्ने खेलाडी भइन् । यता टंकले लामो समयपछि देशलाई यो इभेन्टमा पदक दिलाएका छन् ।
सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डबाट स्वर्ण जितेकी थिइन् । यस इभेन्टमा भारतकी कविता यादवले ३५ मिनेट ०७.९५ सेकेन्डबाट रजत र श्रीलंकाली निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेन्डबाट कांस्य पदक जितेका थिए । यसै इभेन्टमा दौडिएकी राष्ट्रिय च्याम्पियन विश्वरुपा बुढा भने छैटौं स्थानमा रहिन् । उनको ३८ मिनेट २५.०३ सेकेन्डको टाइमिङ थियो ।
त्यसअघि नेपालका लागि टंकले कांस्य जितिसकेका थिए । उनले पुरुष १५ सय मिटर दौड ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गर्दै उक्त पदक थापे । अन्तिम ५० मिटर बाँकी हुँदा माल्दिभ्सका प्रतिद्वन्द्वीलाई पछाडि पारेर टंकले पदक जितेका थिए । भारतका अजयकुमार सरोज (३ मिनेट ५४.८१ सेकेन्ड) र अजित कुमार (३ मिनेट ५७.१८ सेकेन्ड) ले स्वर्ण र रजत जितेका थिए ।
नेपालबाट २६ वर्षयता यो इभेन्टमा पदक मिलेको हो । सन् १९९३ को ढाका सागमा गोपबहादुर अधिकारीले १५०० मिटरमा कांस्य नै जितेका थिए । उनले त्यतिबेला राखेको राष्ट्रिय कीर्तिमान अहिलेसम्म कायमै छ । उनको नाममा ३ मिनेट ४६.६३ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।
पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सकेको टंक निकै खुसी थिए । उनले भने, ‘पहिलोपल्ट यति ठूलो इभेन्टमा पदक जित्न पाउनु नै ठूलो हो जस्तो लाग्छ । त्यसैले जुनसुकै पदक भए पनि खुसी नहुने त कुरै भएन ।’ अन्तिम ल्यापमा टंकले खुबै मिहिनेत देखाए । गतिलाई तीव्र पारेका थिए ।
ओखलढुंगा घर भएका यी धावक आर्मीमा आबद्ध छन् । मध्यम दूरीका धावक टंकले आठौं राष्ट्रियमा स्वर्ण जित्दाको टाइमिङ पनि सुधारेका छन् । उनले ४ मिनेट ०१.८६ सेकेन्डबाट स्वर्ण जितेका थिए । आठौंमै ८०० मिटरमा रजत जितेका थिए ।
मंगलबार भएका अन्य एथलेटिक्समा इभेन्टमा भने नेपाली खेलाडी प्रदर्शन गतिलो रहेन । १०० मिटर दौडिएका आशिष चौधरी र यामसाजन सुनारले हिट चरण पार गर्न सकेनन् । यो १०० मिटर स्प्रिन्टमा माल्दिम्सका हसन सइदले बाजी मारे । उनले स्वर्ण पदक जिते । जुन माल्दिभ्सले साग इतिहासमै जितेको पहिलो स्वर्ण पदक हो ।
माल्दिभ्सले साग इतिहासमा अहिलेसम्म रजत र कांस्य पदक मात्र जित्न सकेको छ । हसनले १०.४९ सेकेन्डमा दौड पार गरी स्वर्ण जितेका हुन् । श्रीलंकाका इसान हिम्सा (१०.५०) र पाकिस्तानका सामी उल्लाह (१०.६६) ले रजत र कांस्य जिते । १०० मिटर महिलातर्फ नेपालकी सरस्वती चौधरी फाइनल चरण पुगे पनि सफलता प्राप्त गर्न सफल भइनन् । उनी पाँचौं स्थानमा रहिन् । पुरुष हाइजम्पको स्वर्ण भारत र महिला १५०० मिटर दौडको स्वर्ण श्रीलंकाली खेलाडीले जिते । पुरुष हाइजम्पमा भारतका सर्वेश अनिलले दक्षिण एसियाली खेलकुदमा नयाँ कीर्तिमानसाथ स्वर्ण जिते । उनले २.२१ मिटर जम्प गरेर नयाँ कीर्तिमान राखेका हुन् ।
यसअघि श्रीलंकाका एम विजशेखराको नाममा २००४ मा २.२ मिटरको
कीर्तिमान थियो ।
नेपालका मुख्य प्रशिक्षक चन्द्र गुरुङले भने, ‘हाम्रो पदक आशा भनेको मध्यम र लामो दूरीको दौडमा हो । हाम्रो अपेक्षा अनुसार सन्तोषीले त एकदमै राम्रो गरिन् । त्यसमा टंकले पनि धेरै राम्रो गरिदिए ।’ उनले यसले अरू खेलाडीलाई उत्साह थप्ने सुनाए ।