You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

'कनेक्टिभिटीले प्रचुर सम्भावना'

प्रधानमन्त्रीले भने– ‘नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि अब छिट्टै जलमार्गबाट समेत विश्वसाग जोडिनेछ’
- कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार कान्तिपुर कन्क्लेभमा सम्बोधन गर्दै ।

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीले स्थल, जल र हवाई तीनवटै माध्यमबाट नेपालको विश्वमा कनेक्टिभिटी (सम्पर्क सञ्जाल) बढ्ने क्रममा रहेको र यसले विकास तथा समृद्धिमा अत्यधिक सम्भावना ल्याउने बताएका छन् । विशेषगरी चीन र भारतसँगको कनेक्टिभिटीले प्रचुर सम्भावनाको आधार तयार गर्ने उनले उल्लेख गरे । ‘त्यसैले दुवै मुलुकसँगको कनेक्टिभिटीलाई सरकारले महत्त्व दिएर काम गरिरहेको छ,’ कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणमा शुक्रबार उद्घाटन मतव्य राख्दै उनले भने, ‘नेपाल भूपरिवेष्टित मुलुक भए पनि अब छिट्टै जलमार्गबाट समेत विश्वसँग जोडिनेछ ।’
प्रधानमन्त्री ओलीले भारतसँग ‘मल्टिमोडल कनेक्टिभिटी’ र चीनसँग ‘ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी’ आवश्यक रहेको बताए । छिमेकी मुलुकहरूको मुख्य सरोकार नै कनेक्टिभिटी रहेको उनको भनाइ थियो । ‘कुनै समय सुदूरका सपना ठानिने कुरा चाँडै वास्तविकतामा रूपान्तरित हुँदैछन्,’ उनले भने ।
प्रधानमन्त्री भएदेखि नै महत्त्वाकांक्षी योजनाहरू अघि सार्दै आएका ओलीले आफूले देखेका सपना अहिले कार्यान्वयनमा जान थालेको आशय मतव्यमा प्रकट गरे । जलमार्गबाट जोडिने आधार तल्लो तहमा बन्दै गएको उल्लेख गरे । नदीहरूबाट हुने सम्पर्कले जनजीवन सहज हुने र ढुवानीमा कम लागत लाग्ने अवस्था आएको ओलीले दाबी गरे । ‘भूपरिवेष्टित नेपाल ठूला पानीजहाजमा हाम्रो झन्डा फहराउँदै जलमार्गबाट जोडिँदै छ,’ उनले भने, ‘मोटरबोटहरू रमाइलोका लागि मात्रै होइनन्, अब तिनले पर्यटन विकासमा पनि टेवा दिनेछन् ।’
झन्डै २५ मिनेट लामो सम्बोधनमा ओलीले विगतदेखि नै उठाउँदै आएको रेलको प्रसंग छुटाएनन् । नेपालमा रेल ल्याउने कुरालाई निरन्तर जोड दिँदै आएका उनले दुवै छिमेकी मुलुकसँग नेपाल रेलका माध्यमबाट पनि जोडिने र यसले नेपालको यातायात क्षेत्रमा क्रान्ति ल्याउने बताए । त्यसले नेपालको अर्थतन्त्रलाई उकास्ने पनि उनले उल्लेख गरे । ‘रेलमार्गले नेपाललाई भूजडित मुलुक बनाउने छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता उत्साही खालका धेरै परिणाम अहिले देखिएका छन् ।’
प्रधानमन्त्री ओलीले दुई वर्षअघि नेतृत्व सम्हाल्दै गर्दा जनताले गरेको विश्वासलाई जिम्मेवारीपूर्वक ख्याल गर्दै विकासको यात्रालाई नेतृत्व प्रदान गरेको दाबी गरे । ‘मेरो कार्यकालको मध्यतिर आइपुग्दा हामीले मुलुकमा सकारात्मक ऊर्जा सञ्चार गर्न सफल भएका छौं,’ उनले भने, ‘हामीले विकासका लागि राम्रो जग पनि खडा गरेका छौं । हाम्रो मुलुकले सही ट्र्याक समातेको छ ।’ उनले विकासको नमुनाका रूपमा अघि बढेका केही परियोजना उदाहरणका रूपमा पेस गरे । ‘भैरहवा र पोखरा विमानस्थल चाँडै सम्पन्न हुँदैछन् । ती विमानस्थल हवाई कनेक्टिभिटीका लागि ‘गेमचेन्जर’ बन्नेछन्,’ उनले भने, ‘अन्तरदेशीय प्रसारण लाइन मुख्य प्राथमिकतामा छ । यसले दुईपक्षीय र क्षेत्रीय ऊर्जा व्यापारको उज्ज्वल भविष्य देखाएको छ ।’
प्रधानमन्त्री ओलीले लामो समयको राजनीतिक संक्रमणकाल पश्चात् पछिल्ला दुई वर्षमा नेपालमा राजनीतिक विषय छाडेर विकास, रोजगार र सार्वजनिक हितबारे बहस हुन थाल्नु सकारात्मक भएको बताए । 

‘आर्थिक विकासको बहस अहिले प्राथमिकतामा परेको छ । अनिश्चितता र भ्रम इतिहासका विषय बनेका छन् । नीतिमा स्थायित्व, निश्चितता र स्थिरताले विश्वसनीयता बढाएको छ,’ उनले भने ।
ओलीले सरकारले लिएको आर्थिक नीतिले उत्साहजनक नतिजा दिन थालेको दाबी गरे । ‘निजी क्षेत्र, उद्यमीहरू हाम्रा सहयात्राका मुख्य नायक हुन्,’ उनले भने, ‘त्यसैले सरकार शान्ति सुव्यवस्था कायम गर्न र उपयुक्त स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न
जिम्मेवार छ ।’
आफ्नो सरकारले सुरुवाती दिनमा कार्टेल र सिन्डिकेट पहिचान गरी त्यसविरुद्ध काम गरेकाले निजी क्षेत्रमा व्यावसायिक प्रतिस्पर्धा बढेको र जनताले गुणस्तरीय सेवा प्राप्त गर्न थालेको ओलीको दाबी थियो । त्यसको गुन निजी क्षेत्रले पनि सरकारलाई तिर्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि रहेको दाबी गरे । ‘यसअघि दीर्घकालीन भिजनसहित आएका कम्पनीहरूले पाएको उच्च प्रतिफल यसको उदाहरण हो,’ उनले भने, ‘मेरो सरकार कुनै पनि क्षेत्रमा आउने नयाँ लगानीकर्ता र स्टार्टअपलाई समन्वय गर्ने प्रतिबद्धता गर्छ ।’ नयाँ लगानीकर्तालाई सहज होस् भनेर कम्पनी दर्तालगायत काममा एकद्वार प्रणाली लागू गरिएको जानकारी उनले दिए । आगामी दिनमा भुक्तानी प्रक्रियाको सहजताका लागि ‘ई–पेमेन्ट’ सेवालाई विस्तार गर्ने ओलीले बताए । भ्रमण वर्ष २०२० ले केही संख्यामा पर्यटक बढाउने मात्र नभई पर्यटकीय पूर्वाधार र पर्यटनस्थलको विकाससमेत गर्ने उनले दाबी गरे । नेपालले अंगीकार गरेको आर्थिक नीतिले उत्साहजनक नतिजा दिन थालेको प्रधानमन्त्रीको दाबी थियो । ‘तथ्यांक आफ्नै ठाउँमा होला तर महत्त्वपूर्ण कुरा विकास हाम्रै पालामा सम्भव छ भन्ने विश्वास सबैमा जागेको छ,’ उनले भने । उनले तीन वर्षदेखि आर्थिक वृद्धि ६ प्रतिशतभन्दा माथि रहेको पनि उल्लेख गरे ।
आफू निर्वाचित भएको दिनबाट स्पष्ट रूपमा ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्दै आएको सम्झाउँदै ओलीले हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गाकाण्डमा १७५ जनाविरुद्ध दर्ता गरेको मुद्दाको प्रसंग पनि उठाए । ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय प्रतिबद्धताको मात्रा कति छ भन्ने १७५ जनालाई मुद्दा दर्ता गर्ने अख्तियारको हालैको निर्णयले बोल्छ,’ उनले भने, ‘हालैको अन्तर्राष्ट्रिय प्रतिवेदन (भ्रष्टाचारसम्बन्धी) मा नेपालको सूची सुधारिँदै गएको देखिएकाले म उत्साही बनेको छु । यो मोर्चामा अझै निकै अघि बढ्नु छ भन्नेमा सचेत छु ।’
प्रधानमन्त्री ओलीले केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा विकासको काम अघि बढिरहेको सुनाए । मुलुकको निर्णायक भूमिका र विकासको मुद्दा अब केन्द्रको नीतिमा मात्रै भर पर्नु नपर्ने उनको भनाइ थियो । उनले युवामा विकसित क्षमता, जोस, नवीनतम सोच र जाँगरलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताको हरफ ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ सँग दाँजे । ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने सपना देख्नुपर्छ भन्ने सुझाव दिनुभएको थियो,’ उनले भने, ‘हाम्रा युवाले चन्द्रमा टाढा छैन भन्ने प्रमाणित गर्न थालेका छन् ।’ नेपाली युवा वैज्ञानिकहरूले नेपालको स्याटेलाइट बनाएर अन्तरिक्षमा पुर्‍याएको कुरालाई चन्द्रमा छुने सपनाको एउटा अंशका रूपमा उनले व्याख्या गरे । उनले विदेशमा रहेका दक्ष जनशक्तिलाई फर्काउने प्रयास भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले ‘तुइन मुक्त’ गराउने आफ्नो योजनालाई कन्क्लेभको मञ्चमा पनि सुनाउन छुटाएनन् । उनले मुलुकबाट तुइन विस्थापित गर्ने योजना पूरा हुन लागेको जानकारी दिए । भूकम्पका कारण भत्किएका भौतिक संरचना र विश्वास अहिले जागृत भइसकेको उनको भनाइ थियो । ‘पुनर्निर्माणका लागि सुरुवातका वर्षहरूमा राजनीतिक अवस्था राम्रो थिएन तर पछिल्ला दुई वर्षमा त्यस्तो छैन,’ उनले भने, ‘निजी घर पुनर्निर्माण भएका छन्, सार्वजनिक सम्पत्ति पुनःस्थापना भएका छन्, सांस्कृतिक सम्पदा तयार भइरहेका छन् । एक वर्षमा सहरको मुटुमा धरहरा खडा हुनेछ ।’
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका र उपस्थिति राम्रो बन्दै गएको र सकारात्मक स्थिति पैदा भएको उल्लेख गरे । चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमण र त्यसबाट दुईपक्षीय सम्बन्धमा भएको विस्तार र खोलेको सम्भावनाका ढोकाबारे पनि प्रधानमन्त्री ओलीले बोलेका थिए ।
त्यसअघि कन्क्लेभका अतिथि तथा सहभागीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले स्वागत गरेका थिए । त्यसक्रममा उनले सार्वजनिक बहसका लागि नयाँ मञ्च तयार गर्न कन्क्लेभ आयोजना गरिएको उल्लेख गर्दै यहाँ आएका विचारले मुलुक र समाजमा स्वस्थ वातावरण निर्माणमा टेवा दिने विश्वास व्यक्त गरे ।

मुख्य पृष्ठ

विज्ञ भन्छन्– ‘कनेक्टिभिटीलाई सभ्यता र अवधारणा निर्माणको आधार विन्दुका रुपमा समेत लिनुपर्छ’

- कान्तिपुर संवाददाता

(काठमाडौं) - प्रायः विकास र योजनासम्बन्धी सवालमा मात्रै महत्त्व दिइने ‘कनेक्टिभिटी’ लाई सभ्यता र अवधारणा निर्माणको आधार विन्दुका रूपमा समेत लिनुपर्ने विज्ञहरूले औंल्याएका छन् ।
राजधानीमा शुक्रबार सुरु कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणमा ‘कनेक्टिभिटीको पुनर्कल्पना’ विषयमा विशेष मन्तव्य राख्दै भारतीय पत्रकार एवं इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज, सिंगापुरका निर्देशक सी राजामोहनले ‘कनेक्टिभिटी’ अन्तर्गत बहुआयामिक पक्ष र क्षेत्रमा छनोटका विकल्पहरू रहेको बताए । ‘आज कनेक्टिभिटी भूराजनीति र भूरणनीतिभन्दा पर्तिरको सम्पर्क विन्दु हो,’ उनले भने, ‘युरोपियन युनियनको एउटा सम्पर्क आयाम छ । इन्डो–प्यासिफिक भनेर अर्को जोडिएको छ । विभिन्न खालका आधारभूत संरचनाका भरमा र त्यही आधारमा जोडिन सक्ने माध्यमका भरमा पनि कनेक्टिभिटी परिभाषित हुन थालेको छ ।’
विगतमा जस्तो कुनै सामानको एउटै बिक्रेता नभएर अहिले छनोट गर्न सकिने बहुपक्षीय र विविध खालका ‘भेन्डर’ हाम्रा वरपर घुमिरहेको उदाहरण दिँदै उनले यसमा उपयुक्त विकल्प छान्न र उपयोग गर्न सकिने अवस्था आएको बताए । ‘कुनै सामान लिनुअघि आफ्नै पूर्वसर्तहरू राख्न सकिने अवस्था छ,’ उनले भने, ‘उन्नाइसौं शताब्दी वा त्यसभन्दा अघि हामीसँग यस्तो विकल्प थिएन ।’
आज नेपाल वा भारतले रोज्ने कनेक्टिभिटीको विषयले सिंगै यो क्षेत्रलाई लाभान्वित बनाउन वा प्रभावित पार्न सक्ने धारणा राख्दै उनले भने ।

विकास र योजनाका सवालमा पनि थुप्रै अवसर रहेको उल्लेख गर्दै राजामोहनले ‘कनेक्टिभिटी’ लाई आफ्नो ‘मालिक’ आफैं बन्न सक्ने अवस्थाका लागि उपयोग गर्न सकिने बताए । ‘कुनै संरचना निर्माण भनेको हाम्रो भूमि वा हाम्रा मुलुकहरू जोड्ने कुरा मात्रै होइन, यो हामी आफैंलाई जोड्ने कुरासमेत हो,’ उनले भने । भूराजनीति भूरणनीतिक हिसाबमा महत्त्वपूर्ण हुने धारणा राख्दै उनले भारत र चीनका बीचमा रहेको नेपाल यसैको उदाहरण रहेको बताए । यसो भन्दैमा भूअवस्थिति एक्लैको भने महत्त्व नहुने उनले अर्थ्याए, ‘स्पष्ट आवाज, दृष्टिकोण र नीतिबिनाको अवस्थितिको मात्र अर्थ रहन्न । मस्तिष्कमा रहने नीतिगत दृष्टिकोणले मात्रै भौगोलिक अवस्थितिलाई अर्थपूर्ण बनाउन सक्छ ।’
सिंगापुरलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले यो भारतीय र प्रशान्त महासागरको सम्पर्क बिन्दु बनेर बसेको बताए । ‘बेलायती साम्राज्यलाई धन्यवाद भन्नैपर्छ जसले सिंगापुर बन्दरगाह बनाए र जो आज एसियाकै चल्तीको सम्पर्क बिन्दु बनेको छ,’ उनले भने, ‘बेलायतीले दिएको यो भूराजनीतिक रणनीतिसहितको उपहार र अवसरसमेत हो ।’
संसारको भूअवस्थितिका आधारमा सिंगापुर कुनै मध्यबिन्दु वा केन्द्रमा नरहे पनि आज सिंगापुर एयरलाइन्स संसारकै लागि ‘कनेक्टिभिटी’को नाम बनेको उदाहरण दिँदै उनले आज हजारौं भारतीय र बंगलादेशी सिंगापुर एयरलाइन्स हुँदै बाहिरी संसारमा निस्कने गरेको बताए । ‘आज दक्षिण एसियाली नागरिकहरू पनि मलेसियन, कतार, गल्फ, इमिरेट्स एयरलाइन्स आदि हँॅदै खाडी वा बाहिरी मुलुकमा किन गइरहेका छन् ? जवाफ स्पष्ट छ । सन् ५० को दशकमा जन्मेको एयर इन्डिया अहिले पनि अस्तित्वका लागि संघर्षरत छ । अरू कनेक्टिभिटीका हवाई सम्पर्क छँदै छैनन् भने पनि हुन्छ,’ राजामोहनले भने, ‘कराँची, मुम्बई, कोलकाता, मद्रास जस्ता सहरहरू यो क्षेत्रका लागि कनेक्टिभिटी–नेटवर्कका बिन्दु होलान् भन्ने थियो, तर त्यो कहिल्यै हुन सकेन । किनभने हामीसँग न नीति रह्यो, न दृष्टिकोण देखापर्‍यो ।’ उनले आफ्नो मन्तव्यमा ‘दक्षिण एसियाली कनेक्टिभिटीका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको औंल्याए । भूगोल र लक्ष्य मात्रै महत्त्वपूर्ण आधार नभएको धारणा राख्दै उपयुक्त नीतिले सफल कनेक्टिभिटी स्थापित हुन सक्ने उनले बताए । ‘अहिले चीन विश्वकै अग्रणी पुँजीवादी राष्ट्रका रूपमा अघि बढेको छ । ग्लोबल–कनेक्टिभिटीका लागि चीनको भूमिका महत्त्वपूर्ण छ,’ राजामोहनले भने, ‘चिनियाँ पुँजी अबको समयका लागि जीवनको नयाँ तथ्य हो, यसलाई स्विकार्नैपर्छ ।’
आजको विश्वमा बहुपक्षीय शक्ति केन्द्र र आर्थिक केन्द्रले ‘कनेक्टिभिटी’ का लागि प्रस्ताव गरिरहेको उल्लेख गर्दै यसमा कुनै वैचारिक आधारमा नभई बरु आफ्ना लागि के फाइदा हुन सक्छ, त्यो विचार गरेर प्रस्ताव स्विकार्न सकिने उनले बताए । अहिले बजारमा चर्चामा रहेको एमसीसी, इन्डो–प्यासिफिक स्ट्राटेजी, बीआरआई आदितर्फ संकेत गर्दै राजामोहनले भने, ‘नेपालले आफ्नो भौगालिक अवस्थितिलाई पनि ख्याल गर्नैपर्छ । तर कुनै पूर्वनिर्दिष्ट सेवासर्तका आधारमा नभई आफूलाई अधिकतम फाइदा हुन सक्ने आधारमा कनेक्टिभिटीका अवसरहरूलाई
समात्न सक्नुपर्छ ।’
विशेष मन्तव्यकै क्रममा अमेरिकास्थित हड्सन इन्स्टिच्युटका सिनियर फेलो ब्रुनो म्यासाइजले ‘कनेक्टिभिटीलाई सडक, रेल र पुलको सम्पर्क बिन्दुका रूपमा मात्रै नलिई विचार तथा सभ्यताको आधारबिन्दु मान्नुपर्ने’ बताए । कहिलेकाहीँ साना राष्ट्रले गर्न सक्ने कुरा ठूला भनिएका राष्ट्रले गर्न नसक्ने बताउँदै यो क्षेत्रमा चीन–पाकिस्तान आर्थिक करिडर कनेक्टिभिटीको एउटा उदाहरण बन्न सक्ने जनाए । सेन्टर फर चाइना एन्ड ग्लोबलाइलेजसनका सिनियर रिसर्च फेलो एन्डी मोकले कनेक्टिभिटीले यातायात, इन्टरनेट र निःशुल्क सञ्चारसम्मको सुविधा प्रदान गर्नुका साथै सरुवा रोगसमेत फैलाइरहेको बताए । ‘आर्टिफिसियल इन्टेलिजेन्सका कारण समाजको शक्ति सन्तुलन दिनानुदिन परिवर्तन भइरहेको छ,’ उनले भने, ‘त्यसैले कनेक्टिभिटीको प्रयोजन र उपयोग कसले, कसका लागि र कुन स्वार्थमा गरेको हो भन्ने बुझ्नु जरुरी छ ।’
‘लेसन्स फ्रम द इस्ट’ शीर्षक सत्रमा निक्केई एसियन रिभ्युकी सम्पादक ग्वेन रोविन्सन, एसियाली विकास बैंक, मनिलामा साउथ एसिया अर्वन एन्ड वाटर डिभिजनकी प्रमुख नीता पोखरेल र इन्भेस्टमेन्ट एन्ड क्यापिटल कर्पोरेसन अफ द फिलिपिन्स (आईसीसीपी) का सीईओ भ्यालेन्टिनो एस. बगटसिंबीच बीड म्यानेजमेन्टका संस्थापक सुजीव शाक्यले अन्तर्संवाद गरेका थिए ।
‘दक्षिण एसियाको यो क्षेत्रमै सबैभन्दा गतिशील आर्थिक सूचकांक छ,’ एसियाली विकास बैंककी पोखरेलले भनिन्, ‘तर कनेक्टिभिटीका आधारमा हामी निकै पछाडि छौं । दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई आज विकेन्द्रीकरणको साझा अवधारणाले अघि बढाएको छ । तर, आन्तरिक रूपमै कनेक्टिभिटी आसलाग्दो बन्न सकेको छैन ।’ विकेन्द्रीकरण भनेको जनतालाई सशक्त बनाउने आधारसमेत रहेको उल्लेख गर्दै उनले यस दिशामा यो क्षेत्रमा आशातित नतिजा देखा नपरेको बताइन् ।
निक्केई एसियन रिभ्युकी सम्पादक ग्वेन रोविन्सनले भूअवस्थितिका आधारमा एकअर्को मुलुकसँग अन्तर्संवाद गर्ने कुरामा दक्षिणपूर्वी एसियाली मुलुकहरू सफल देखिए पनि छिमेकी मुलुकसँग व्यापार–व्यवसायको आपसी सहयोग गर्नमा चुकिरहेको बताइन् । ‘ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँका नागरिकसँग सहकार्य गर्नु आवश्यक हुन्छ । तर, पर्यटन क्षेत्रमा परेको प्रभाव हाम्रो सिकाइका लागि राम्रो उदाहरण हुन सक्छ,’ उनले भनिन्, ‘दक्षिणपूर्वी एसियाली देशका आफ्नै एजेन्डा छन् । र, पछिल्ला पाँच वर्षमा उनीहरू क्षेत्रीय सहकार्य गर्दै अघि बढिरहेका छन् । उनीहरू ठूला संस्थालाई ससाना समूहमा विभाजित गर्दै अघि बढेका छन् ।’
आईसीसीपीका बगटसिंले गुणस्तरीय पर्यटनका लागि नेपालले आफ्ना नागरिकलाई सचेत बनाउनुपर्ने बताए । ‘पर्यटक–गाइड मात्रै होइन, यहाँ वातावरण गाइड पनि जरुरी छ,’ उनले भने, ‘दक्ष र सक्षम जनशक्तिका भरमा मात्रै हामी आफूमाझ रहेको कनेक्टिभिटीको खाडललाई
पुर्न सक्छौं ।’
कन्क्लेभको दोस्रो दिन शनिबार नेपालमा चलेको मिटु अभियान, नेपालको विकास गति, बदलिँदो भूराजनीतिक अवस्थामाथि अन्तर्संवाद तथा
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग परिसंवाद कार्यक्रम हुनेछन् ।

मुख्य पृष्ठ

रुघाखोकीले एकै गाउँका ३६५ बिरामी

- छपाल लामा

(हुम्ला) - भारी हिमपातले चिसो अत्यधिक बढेपछि सिमकोट गाउँपालिका–८ स्याडामा बिरामी पर्नेको संख्या ३६५ जना पुगेको छ । मौसमी रुघाखोकीले एकै गाउँमा यति धेरै एकैपटक बिरामी परे पनि स्थानीय स्वास्थ्य चौकीमा औषधि छैन ।
बिरामीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्याडा स्वास्थ्यचौकीका सिनियर अहेव अर्जुन कार्कीले बताए । जटिल अवस्थाका बिरामीलाई जिल्ला अस्पताल पठाइएको छ । ‘न औषधि छ, न पर्याप्त स्वास्थ्यकर्मी,’ उनले भने, ‘गाउँपालिकाले दिएको औषधि दुई महिनाअघि सकिएपछि बिरामीलाई नै किन्न जाऊ भन्नुपरेको छ ।’ तीनजना स्वास्थ्यकर्मीको भरमा चौकी सञ्चालन भइरहेको उनले बताए ।
हुम्लामा यस पटक दुई दशकयताकै भारी हिमपात भएको छ । पहिले परेको हिउँ नबिलाउँदै फेरि हिमपात हुन थालेपछि जिल्लाभरि चिसो अत्यधिक बढेको हो । उच्च हिमाली क्षेत्रमा पाँच फिट बाक्लो हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिसोका कारण मौसमी रुघाखोकीले घरघरै बिरामी थलिएको स्थानीय नुर्बु बुढाले बताए । उनका अनुसार रुघाखोकीका कारण बालबालिका र वृद्ध बढी प्रभावित छन् ।
सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले रुघाखोकी फैलिएको खबर पाउनेबित्तिकै औषधिसहित स्वास्थ्यकर्मीको टोली स्याडा खटाइएको दाबी गरे । सबै स्वास्थ्यचौकीमा एक/दुई दिनभित्रै पर्याप्त औषधि पठाइने उनको भनाइ छ । दुई साताअघि खार्पुनाथ, चंखेली र सर्केगाड गाउँपालिकाका विभिन्न गाउँमा पनि रुघाखोकीको प्रकोप देखिएको थियो । तीनवटै गाउँपालिकामा कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालय र स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मी पुगेपछि रुघाखोकी नियन्त्रणमा आएको थियो । रुघाखोकी फैलिएका क्षेत्रको स्थलगत भ्रमण गरी बिरामी परीक्षण र उपचार गरिएको टोलीप्रमुख उदय
बीसीले बताए ।
टोलीले सदरमुकाममा जनप्रतिनिधि, कार्यालय प्रमुख र सरोकारवालालाई थप
सतर्क रहन आग्रह गरेको थियो । ‘अत्यधिक चिसोका कारण गाउँगाउँमा मौसमी
रुघाखोकी फैलिएको पाइयो,’ टोली प्रमुख बीसीले भने । हुम्लामा मौसमी रुघाखोकीका कारण यो वर्ष १४ जनाको मृत्यु भइसकेको छ । गाउँगाउँमा बिरामी बढ्दै गएपछि जिल्लाभरि औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य सेवा कार्यालयकी नर्सिङ इन्चार्ज सरिता बोहोराले बताइन् ।

 

मुख्य पृष्ठ

बढी शुल्क लिने कलेजसँग स्पष्टीकरण

- सुदीप कैनी

(काठमाडौं) - चिकित्सा शिक्षा आयोगले अतिरिक्त शुल्क लिने मेडिकल कलेजहरूसँग स्पष्टीकरण सोध्न थालेको छ । काठमाडौं विश्वविद्यालय मातहतका मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिन थालेपछि आयोगले पहिलो चरणमा त्यसको कारण सोध्न थालेको हो ।
आयोगले बढी शुल्क माग्ने सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजसँग स्पष्टीकरण सोधिसकेको र विराटनगरको नोबेल मेडिकल कलेजलाई पनि सोध्ने तयारी भइरहेको बताएको छ । काठमाडौं मेडिकल कलेजका सञ्चालकलाई आयोग कार्यालयमा बोलाएर लिखित र मौखिक रूपमा सोधिएको आयोगले जनाएको छ । आयोगले नोबेललाई काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजमार्फत सचेत गराइसकेको
छ । बढी शुल्क माग्ने र लिने मेडिकल कलेजलाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने, चित्तबुझ्दो जवाफ नदिए राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार कारबाही गरिने आयोगका सदस्यसचिव हरिप्रसाद लम्सालले बताए ।
उनका अनुसार बढी शुल्क असुल्ने बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजमाथि जाँचबुझ भइरहेको छ । ‘पहिलो चरणमा विश्वविद्यालयलाई कलेजमाथि नियमन गर्न भनेका छौं,’ उनले भने, ‘अटेरी गरे आयोगले हस्तक्षेप गरेर कारबाही थाल्छ ।’
कलेजहरूले शिक्षण शुल्क सँगसँगै अस्वाभाविक होस्टल शुल्क लिएको गुनासो पनि अभिभावकले गरेका छन् । होस्टललगायतका शुल्क आयोगको क्षेत्राधिकार बाहिरका विषय भएकाले विश्वविद्यालयमार्फत समस्या निरूपण गर्ने प्रयास गरिएको हो । गत वर्षभन्दा अतिरिक्त शुल्क असुल्ने प्रवृत्तिमा कमी आएको आयोगका निर्देशकहरूले दाबी गरेका छन् । चालु शैक्षिक सत्रमा बढी
शुल्क लिन काठमाडौं विश्वविद्यालय मातहतका मेडिकल कलेजले अभिभावकहरूसँग मोलमोलाइ गरिरहेका छन् ।
नियमित गतिविधिबारे जानकारी दिन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रीकृष्ण गिरीले एमबीबीएस तथा बीडीएसको शुल्क कार्यान्वयन गराइछाड्ने प्रतिबद्धता दोहोर्‍याए । स्पष्टीकरणपछि काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल चन्दा कार्कीले बढी शुल्क नलिने जनाएकी छन् । नोबेलका सञ्चालक सुनील शर्मा र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक सुरेश कनौडियालाई आयोगका अधिकारीहरूले बढी रकम नलिन पटक/पटक लिखित र मौखिक निर्देशन दिइसकेका छन् ।
शैक्षिक सत्र २०७२ देखि २०७४ सम्म बढी शुल्क लिने कलेजहरूबारे अध्ययन भइरहेको आयोगले जनाएको छ । कार्यकारी समितिद्वारा गठित कार्यदलले अध्ययन अन्तिम चरणमा पुर्‍याएको सदस्य सचिव लम्सालले जानकारी दिए । चालु शैक्षिकसत्रमा चिकित्सा शिक्षाको स्नातक तहको अध्ययन गर्ने ६७२ जना विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको छ । त्यसका लागि ७० करोड रुपैयाँ छुट्याइएको छ । ऐनमा स्नातक तहमा मेडिकल शिक्षा अध्यापन गराउने सार्वजनिक शिक्षण संस्थाले ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने प्रावधान छ ।
स्वेदशी लगानीका निजी र स्वेदशी–विदेशी संयुक्त लगानीमा सञ्चालित शिक्षण संस्थाले क्रमशः १० र २० प्रतिशत छात्रवृत्ति कोटामा विद्यार्थी पढाउनुपर्छ । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शिक्षा अध्ययन संस्थान, पाटन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्र ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराएका हुन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेज धुलिखेल र सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानले ऐनको प्रावधानअनुसार छात्रवृत्ति उपलब्ध गराएका छैनन् ।
आयोगले स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा चालु शैक्षिकसत्रमा नै सञ्चालन गर्न गृहकार्य भइरहेको जनाएको छ । एकीकृत प्रवेश परीक्षाको कानुनी र व्यवस्थापकीय व्यवस्था मिलाउन उपाध्यक्ष गिरी, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिनहरू सदस्य रहेको कार्यदल गठन गरिएको छ । ‘स्नातकोत्तर तहको चैतमा हुने एकीकृत प्रवेश परीक्षा लिन पाठ्यक्रम निर्माणको काम भइरहेको छ,’ लम्सालले भने, ‘आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा पनि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न पाठ्यक्रम तयार भइरहेको छ ।’

 

Page 2
समाचार

कोरियालीसँग घरजम

कोरियालीसँग बिहे गरेर बसेका नेपाली आफ्ना सन्तानसहित । तस्बिर ः गोकुल/कान्तिपुर

 

(दक्षिण कोरिया) - नेपाल छँदा बाला राई व्यस्त पत्रकार थिइन् । झन्डै एक दशक मूलधारको पत्रकारिता गरेकी उनले फिचर लेखनमा राम्रै नाम बनाएकी थिइन् । आफ्नो बिट कला–रंगमञ्चका अनेक पात्रका फिचर स्टोरी उनले लेखिन् । धेरै कलाकारका अभिनय हेरिन् । क्यानभासका रङहरू नियालिन् ।
सन् २०११ मा उनले कोरियाली नागरिकसँग विवाह गरिन् । अनि उनकै जीवन ‘रंगमञ्च’ झैं भयो । नाट्य पात्रको जीवनमा आएको मोडजस्तै उनको जीवन मोडियो । ‘आफूले जीवन बिताउनुपर्ने केटाको अनुहारसमेत राम्ररी थाहा नपाई मैले बिहे गरें,’ उनी भन्छिन्, ‘जिन्दगीको एउटा पाटो छोपियो ।’
त्यसपछिका आफैंलाई सम्झाउनसमेत निकै दिन लागेको उनले बताइन् । ‘मेरी गाउँकी बहिनी पहिले कोरियाली केटासँग विवाह गरेर आएकी थिई, उसैले मेरी आमासँग कुरा गरिछ, आमाले कर गरेपछि हुन्छ भनिदिएँ,’ उनले भनिन्, ‘कोरियाली केटा पहिलोचोटि नेपाल आयो । म्यारिज ब्युरोले सबै कागजात तयार गरिदियो । कफीसपमा बसेर बेहुलाले सुट लाए, मैले नेपाली साडी लगाएँ । दुवैले फोटो खिच्यौं, त्यसपछि बिहे भयो ।’
विवाह भएको तीन महिनापछि बाला कोरिया आइन् । न कोरियाली भाषा आउने, न संस्कार–संस्कृति । उनलाई निकै समस्या भयो । श्रीमान्ले अंग्रेजीमा एउटा–एउटा शब्द भन्थे । धेरै कुरा इसारामै चल्थ्यो । झन्डै एक वर्षसम्म कोरियाली भाषा पढेपछि मात्रै उनी सामान्य कुराकानी गर्न सक्ने भइन् । दैनिकी केही सामान्य बन्दै गयो । अहिले उनी एउटी छोरी हुर्काउँदै छिन् । फुर्सदको समयमा भाषा अनुवादको कामसमेत गर्छिन् ।
िि
िबालाको जस्तै छ कोरियाली नागरिकसँग विवाह गरेर आउने धेरै नेपालीको समस्या । सबैले मुस्किलको दैनिकी बिताइरहेका छन् । बिरानो देशमा घरजम गरेर आउने नेपाली चेली कति छन्, यकिन तथ्यांक छैन । नेपाली दूतावाससँग ६ सय १४ महिला र १ सय ३९ जना पुरुष कोरियाली नागरिकसँग बिहे गरेर आएको तथ्यांक छ । यो संख्या कोरियाभर विवाह गरेर आउने नेपालीको संख्याभन्दा निकै थोरै रहेको दूतावासकै स्वीकारोक्ति छ । ‘हामीलाई न नेपालबाट विवाह गरेर यता आउने बेला जानकारी हुन्छ न आइसकेपछि थाहा दिइन्छ,’ दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले कान्तिपुरसँग भने, ‘कोरियाली सरकारले विदेशी महिलाका लागि धेरै सुविधा दिएको छ । यसबाट हाम्रा दिदीबहिनी लाभान्वित भएको सूचना छ । कोरियामा विवाह गरेर आउने महिलाका समस्या त्यति आएको छैन ।’
कोरियाली नागरिकसँग विवाह गरेर आउने महिलालाई भाषा र जीवनशैली सिकाउन तालिम केन्द्रहरू सञ्चालन गरिएका छन् । कोरियाली भाषामा ‘धामुना’ सेन्टर (बहुसांस्कृतिक परिवार सेवा केन्द्र) भनिने यस्ता केन्द्रमा विदेशी बुहारीका लागि जीवनोपयोगी सीप सिकाइन्छ । कुनै समस्या परे नेपालीमै भन्न सकिने सुविधासमेत छ ।
यति भएर पनि कोरियाली नागरिकसँग विवाह गरेर आएका महिलाका समया अनेक छन् । सन् २०१८ मा राष्ट्रिय मानवअधिकार आयोग कोरियाले गरेको एउटा अध्ययनमा कोरियालीसँग विवाह गरेर आएका ४२ प्रतिशत विदेशी महिलाले घरेलु हिंसा भोग्नुपरेको र ६८ प्रतिशतले यौनहिंसा सहनु परेको पाइएको थियो । विवाह गरेर जानुअघि ‘केपप ब्यान्ड’ र ‘टेलिसिरियल’ हेरेर कोरिया रमाइलो रहेछ भन्नेहरू धेरै छन् तर यथार्थ अलग छ । बिहे गर्नुपहिला म्यारिज ब्युरोले राम्रा कुरा मात्रै सुनाउने गरेको गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाकी महिला संयोजक शुभद्रा
पालुङ्वाको अनुभव छ । ‘बिहे गरेपछि सबै राम्रो हुन्छ, तुरुन्तै कार्ड पाउन सकिन्छ, अझ डिभोर्स गरेर बस्दासमेत हुने भनेर भनिदिन्छन्,’ उनले भनिन्, ‘धेरै दिदीबहिनीलाई कोरियाको यथार्थ थाहा हुनै पाउँदैन ।’
नेपाल हुँदा म्यारिज ब्युरोले एक दुई वर्षमै कोरियन ग्रीनकार्ड निस्कन्छ भने पनि ‘कार्ड’ पाउन त्यति सजिलो छैन । कोरियाली भाषा ‘एड्भान्स लेभल’ पास हुनैपर्ने, सन्तान जन्मनुपर्ने, आर्थिक अवस्था राम्रो हुनुपर्नेजस्ता झन्झटिला सर्त छँदै छन् । यी सबैमा श्रीमान्को सहयोग हरपक्षमा हुनैपर्छ । त्यसैले पनि श्रीमान्को हिंसा सहेरै बस्छन्
विदेशी बुहारी ।
एक अध्ययनले विदेशीसँग विवाह गर्ने कोरियाली नागरिकको उमेर औसतमा ४३.६ वर्षभन्दा बढी छ भने विदेशी महिलाको उमेर २५.२ वर्ष मात्रै देखिन्छ । महिला र पुरुषको उमेर १८.४ वर्षले अन्तर भएपछि दाम्पत्य जीवनमा स्वभावतः फरक पर्ने फेन्थेककी कविता लामाको भनाइ छ । ‘उमेर फरक परेपछि सोच्ने तरिका पनि फरक हुने रहेछ, यदाकदा महिलाले सामान्य रूपमा लिएको विषयले परिवारमा झगडा हुने गर्छ,’ उनी भन्छिन् ।
सानो निहुँमा हुने घरायसी झगडाका कारण सम्बन्धविच्छेद गर्नेको संख्या पनि उत्तिकै छ । गत वर्ष ५ हजार विदेशीसँग विवाह गरेका जोडीले सम्बन्धविच्छेद गरेका थिए । सम्बन्ध तोड्नेमा चिनियाँ महिला सबैभन्दा बढी छन् । चीनबाट विवाह गरेर आएका ३ हजार २ सय महिलाले सम्बन्ध विच्छेद गरेका छन् भने १७ नेपाली महिलाले सम्बन्ध
तोडेका छन् ।
सम्बन्धविच्छेद गरेपछि सन्तान भइसकेका र कोरियाको ग्रिनकार्ड लिइसकेकालाई धेरै समस्या हुँदैन । बालबच्चा नहुनेलाई भने समस्या पर्छ । श्रीमान्ले सँगै बस्न नसक्ने अवस्थाको हिंसा गरेको भन्ने अदालतले प्रमाणित नगरे भिसा मिल्दैन । अदालती प्रक्रिया खर्चिलो र झन्झटिलोसमेत छ ।
विदेशी महिलासँग विवाह गर्न चाहने धेरै कोरियालीको आर्थिक अवस्था राम्रो छैन । उनीहरूको बसोबास गाउँमा छ । खेती किसानी मुख्य पेसा हो । कोरियाली केटीसँग विवाह गर्न नसकेपछि उनीहरूले विकल्पका रूपमा विदेशी महिला रोज्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका पुरुषलाई विभिन्न नगरपालिकाले १ करोड वन (१० लाख रुपैयाँ) सम्म विदेशीसँग विवाहका लागि आर्थिक सहयोगसमेत गर्छ ।
कोरियाका गाउँमा पुरुषको तुलनामा महिलाहरू बस्न मन पराउँदैनन् । विवाह उमेरका कोरियाली महिला सहरमै बस्छन् र सहरकै पुरुषसँग विवाह गर्छन् । विवाहित जोडीले तुरुन्तै बच्चा जन्माउन चाहँदैनन् । सन् २०१८ मा औसतमा कोरियाली महिलाले ०.९८ बच्चा जन्माएका थिए । देशैभरि जम्मा ३ लाख २६ हजार ९ सय बच्चा जन्मिए । अहिलेको कोरियाको जनसंख्यालाई सन्तुलित रूपमा राख्नका लागि वार्षिक ७ लाखभन्दा बढी बच्चा जन्मिनुपर्छ । देशको जनसंख्या घट्दै गएको र गाउँमा बस्न मन नगर्ने कोरियाली महिलाको विकल्पमा एसियाली मूलका महिला पर्ने गरेका छन् । बिहे गरेर कोरिया आएका महिलाले दुई वर्षभित्रै पहिलो सन्तान जन्माउने गरेको देखिएको छ । यसरी आउनेमा कोरियाली मूलका चिनियाँ महिला सबैभन्दा बढी छन् । सन् २०१८ सम्म ८० हजार महिला बिहे गरेर कोरिया आएका छन् । यो विदेशीसँग विवाह गर्ने कोरियालीको ४७.१ प्रतिशत हुन आउँछ । दोस्रो ठूलो संख्या भियतनामी महिलाको छ । उनीहरू ४० हजारभन्दा बढी छन् । यो संख्या २३.९ प्रतिशत हुन आउँछ । नेपाल, थाइल्यान्ड, उज्वेकिस्तान, फिलिपिन्स, मंगोलियाजस्ता देशबाट विवाह गरेर आउनेको संख्या यी दुई देशको तुलनामा कम छ । यसरी आउने धेरै महिलाका सपना समान छन्– आफू ‘सेटल’ हुने अनि माइती देशमा सकेको आर्थिक सहयोग गर्ने ।
यहाँको तथ्यांक विभागले सन् १९९८ देखि विदेशीसँग गरेको विवाह रेकर्ड राख्न सुरु गरेको पाइन्छ । सबैभन्दा बढी विदेशी महिलासँग विवाह सन् २००५ मा भएको देखिन्छ । उक्त वर्ष ३० हजार ७ सय विदेशी महिलाले कोरियालीसँग विवाह गरेका थिए भने ११ हजार ६ सय पुरुष विवाह गरेर कोरिया आएको रेकर्ड छ ।
पछिल्लो समय विदेशी महिलासँग विवाह गर्न केही कडा नियमसमेत लागू भएका छन् । त्यसपछि विदेशीसँग विवाह गर्ने कोरियालीको संख्यामा कमी आएको छ । सन् २०१८ मा १६ हजार ६ सय विदेशी महिलाले विवाह गरेर आएका थिए भने ६ हजार पुरुषले विवाह गरेका थिए ।

गोकुल थोकर तामाङ

Page 3
समाचार

ट्रस्टले भाडा लगाएकोमध्ये ९० ∞ जग्गा यतिलाई

ट्रस्टले ३ हजार रोपनी जग्गा भाडामा लगाएकोमा गोकर्ण, ताहाचल र दरबारमार्गको मात्रै २ हजार ७ सय ९९ रोपनी जग्गा यति समूहलाई दिएको छ । ट्रस्टको सम्पत्ति कहाँ कति छ भन्ने भेउ पाएको यतिले सत्तासँगको निकटतालाई प्रयोग गरेर जग्गा हात पारिरहेको छ ।
- बिनु सुवेदी

(काठमाडौं) - नेपाल ट्रस्टले भाडामा लगाएको सम्पत्तिमध्ये झन्डै ९० प्रतिशत यति होल्डिङ्सले नै लिएको पाइएको छ । ट्रस्टले २०६४ देखि हालसम्म ३ हजार रोपनी जग्गा भाडामा लगाएको छ । यसमध्ये २ हजार ७ सय ९९ रोपनी जग्गा यति होल्डिङ्स र यतिकै सञ्चालकले सञ्चालन गरेको थामसेर्कु ट्रेकिङ प्रालिले पाएको छ । यति समूहले गोकर्ण फरेस्ट रिसोर्टका लागि २ हजार ७ सय ९२, ताहाचलको ५ र दरबारमार्गको झन्डै २ रोपनी जग्गा वार्षिक ३६ करोड ८० लाख रुपैयाँ भाडा बुझाउने गरी ट्रस्टबाट लिएको हो ।
जग्गा र भवन गरी सरकारले देशभर १२ जिल्लामा रहेको ट्रस्टको सम्पत्तिमध्ये काठमाडौं र धनकुटाको मात्रै सम्पत्ति भाडामा दिएको छ जसमा अधिक लाभ यति समूहले लिएको हो । ‘२०६४ यता नै यति समूहलाई सहज हुने गरी ट्रस्टले निर्णय गर्दै आएको देखिन्छ,’ ट्रस्टसम्बद्ध अधिकारी भन्छन्, ‘ट्रस्टको सम्पत्ति कहाँ कति छ भन्ने भेउ पाएको यति समूहले सत्तासँगको निकटतालाई प्रयोग गरिरहेको छ ।’

विवादका बीच सम्झौता
यति समूहलाई गोकर्ण फरेस्ट रिसोर्टको म्याद थपको विषयमा सत्तारूढ दल तथा अन्य क्षेत्रबाट विरोध भए पनि सम्झौता भइसकेको छ । नेपाल ट्रस्टले देशभर रहेको आफ्नो सम्पत्ति विवरणको वर्तमान अवस्था अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा गोकर्णमा रहेको ३ हजार ९ सय ७१ रोपनी जग्गामध्ये २ हजार ७ सय ९२ रोपनी यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि लिजमा दिने निर्णय गरिसकेको उल्लेख छ । यो कुल १ करोड ८ लाख २३ हजार २ सय ५ अमेरिकी डलर भाडा लिने गरी सन् २०५० अगस्ट १४ सम्मका लागि लिज अवधि थप्ने निर्णय २०७६ मंसिर २३ गते मन्त्रिपरिषद्ले गरेको हो । ट्रस्ट र यति समूहबीच सम्झौता भने गत पुस २९ गते भएको छ । यति समूहसँगको निकटताका आधारमा समय अवधि नसकिँदै गोकर्ण रिसोर्टको लिज अवधि बढाउन सरकारले निर्णय गरेको भनी सर्वत्र विरोध भइरहेका बेला सम्झौता भएको हो ।
०५२ सालदेखि एलएम सुभिर ब्रदर्सलाई भाडामा दिइएको जग्गा नेपाल ट्रस्टले २०७१ मंसिर २५ मा यतिलाई हस्तान्तरण गर्न स्वीकृत दिने निर्णय गरेको थियो । त्यतिखेर ट्रस्टमा अध्यक्ष तत्कालीन गृहमन्त्री वामदेव गौतम थिए भने ट्रस्ट संरक्षक प्रधानमन्त्री सुशील कोइराला थिए ।
गोकर्णको सबै सेयर आफ्नो पोल्टामा पार्न यति समूहले २०६४ मा नेपाल ट्रस्ट बनेलगत्तै देखि दौडधुप गरेको थियो । २०६७ मा ५१ प्रतिशत सेयर पाएको यति समूहले ०७१ मा सबै सेयर किनिसकेको छ । २०७५ फागुन १९ गते नेपाल ट्रस्ट ऐन र ०७६ असोज २७ गते नियमावली संशोधन गरेर ट्रस्टको जग्गा यति होल्डिङ्स समूहको एलएम सुभिर ब्रदर्सलाई सन् २०२५ अगस्ट १५ देखि लागू हुने गरी अवधि थपिएको हो ।
सम्झौतामै हस्ताक्षर भइसकेकाले गोकर्ण रिसोर्ट अब ३० वर्षसम्म यति समूहले नै सञ्चालन गर्नेछ । त्यसबापत ट्रस्टले कुल १ करोड ८ लाख २३ हजार २ सय ५ अमेरिकी डलर (हालको विनिमय दरअनुसार १ अर्ब २३ करोड ३८ लाख ४५ हजार ३ सय ७० रुपैयाँ) आर्जन गर्नेछ । यो प्रतिरोपनी मासिक १ हजार १ सय ५३ रुपैयाँको भाडा हो । यसअघिको सम्झौताअनुसार प्रतिरोपनी करिब साढे ६ सय रुपैयाँ भाडा पर्थ्यो ।
ट्रस्टको अध्यक्षसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल नेपाल ट्रस्टको जग्गा भाडामा दिने अघिल्ला सरकार र यो सरकारको निर्णय कानुनसम्मत भएको दाबी गर्छन् । ‘सबै विषय अध्ययन र मूल्याङ्कन गरेर ट्रस्टको जमिन भाडामा लगाउने निर्णय भएको हो,’ पोखरेलले कान्तिपुरसँग भने । उनले पहिले कौडीको भाउमा भाडामा दिइएको सम्पत्ति यो सरकारले बजार भाउअनुसार भाडा कायम गरेर दिइएको बताए ।
दरबारमार्ग र ताहाचलको जग्गा पनि यति समूहको थामसेर्कुलाई नै ३० वर्षका लागि २०७४ सालमै लिजमा दिइएको थियो । २०७३ फागुन ६ गते थामसेर्कुले गरेको ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रुपैयाँको प्रस्ताव स्वीकार गर्ने निर्णय भयो । तर फागुन १८ मा थामसेर्कुले उक्त प्रस्ताव आफ्नो नभएको जनाउँदै १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ दिने प्रस्ताव गरिएको धारणासहितको पत्र ट्रस्टको कार्यालयमा पेस गर्‍यो । त्यसपछि २०७४ वैशाख ५ गते थामसेर्कुको पछिल्लो प्रस्ताव स्वीकृत भयो र जेठ १४ गते थामसेर्कु र ट्रस्टको कार्यालयबीच दरबारमार्गको उक्त जग्गा थामसेर्कुलाई १ अर्ब ४० करोड रुपैयाँमा लिजमा ३० वर्षका लागि दिने सम्झौतामा हस्ताक्षर भयो ।
सहसचिवस्तरीय निर्णयबाट थामसेर्कुलाई उक्त जग्गा भाडामा दिने निर्णय गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि थिए । सहसचिवस्तरीय भए पनि ट्रस्टको संरक्षक प्रधानमन्त्री र अध्यक्ष गृहमन्त्री हुने प्रावधान रहेको तत्कालीन समयमा उनीहरूको सहमतिबेगर निर्णय सम्भव थिएन ।
ताहाचलको जग्गा थामसेर्कुलाई २० करोड लागतको भवन बनाउने गरी वार्षिक १८ करोडमा लिजमा दिइएको छ । पाँच रोपनी क्षेत्रफलको यो जग्गामा यति समूहले संरचना निर्माण गरिरहेको छ । उक्त जग्गाको २०७४ असारमा लिज आह्वान गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल नै थिए भने त्यही वर्षको कात्तिक १३ गते थामसेर्कुलाई ३० वर्षका लागि जग्गा लिजमा दिने निर्णय गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले राजीनामा दिइसकेकाले
त्यो बेला गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका देउवा स्वयं ट्रस्टका अध्यक्ष थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यति समूहलाई जग्गा भाडामा दिने सबै निर्णय कानुनबमोजिम नै भएको भन्दै बारम्बार स्पष्टीकरण दिंदै आएका छन् । कानुनसम्मत कुरामा छानबिन या अध्ययन गर्न कुनै जरुरी नरहेको ओलीको जिकिर छ । ‘मैले घोटाला या भ्रष्टाचार गर्छु भन्ने कमसेकम साथीहरूले ठान्नुहुन्न भन्ने विश्वास छ,’ प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा सम्पादकहरूसँगको संवादमा पनि भने । ट्रस्टको जग्गा यति समूह र अरू व्यापारिक घरानालाई समेत दिने पुराना निर्णयमा तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवा पनि जोडिएकाले ओली सरकारको अहिलेको निर्णयमा उनीहरूले समेत मौनता साँधेका छन् ।
नेकपा केन्द्रीय कमिटी बैठकमा यति समूहसँग सरकारको आत्मीयताबारे व्यापक प्रश्न उठेको भए पनि त्यसमा अध्यक्ष दाहालले चित्तबुझ्दो सम्बोधन गरेनन् । नेपाल ट्रस्टबारे उठेका प्रश्नको सम्बोधन गर्ने गरी स्वेतपत्र ल्याउने बताएका दाहालले अनियमितता भएको पाइए छानबिनको दायरामा ल्याउँछौं भन्न सकेनन् ।


अरूलाई पनि सस्तै दर
सरकारले काठमाडौंका विभिन्न ठाउँ र धरानको जग्गा पनि सस्तो दरमा भाडामा लगाएको पाइएको छ । ट्रस्ट स्रोतबाट प्राप्त विवरणअनुसार २०७७ असार २ गते लिज सम्झौता सकिने कमलादीस्थित काठमाडौं प्लाजा भवन वार्षिक ७५ लाख रुपैयाँमा दिइएको छ ।
२०५० सालदेखि कन्सेप्ट डेभलपर्स प्रालिले लिएको त्यहाँको ५ रोपनी जग्गा ०६६ असार ३ मा सम्झौता अवधि थपिएको थियो । २०८३ सम्मका लगि टाउन डेभलपर्स प्रालिलाई दिइएको टेकुस्थित बिजनेस पार्कको भाडा सरकारले वार्षिक ४० लाख रुपैयाँ मात्रै उठाउँदै आएको छ । २०६६ माघ ५ गते ट्रस्टले उक्त कम्पनीसँग लिज सम्झौता गरेको थियो ।
यसैगरी सार्वजनिक खरिद तथा अनुगमन कार्यालय बसेको कालीमाटीको भवन वार्षिक १२ लाख, गरिबी निवारण कोषलाई वार्षिक २२ लाख र वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालय बसेको भवनलाई वार्षिक ४८ लाख रुपैयाँमा भाडामा दिइएको छ । नेपाल ट्रस्टले निजामती आवासीय विद्यालय बनाउने प्रयोजनका लागि धनकुटा चुलीवनको १ सय ३४ रोपनी जग्गा वार्षिक दुई लाख भाडामा दिएको छ ।

समाचार

प्रेरणाको निवेदन सर्वोच्चबाट खारेज

- कृष्ण ज्ञवाली

(काठमाडौं) - सर्वोच्च अदालतले दिवंगत राजा वीरेन्द्रको छाउनीस्थित जग्गामा पूर्वराजकुमारी प्रेरणाको दाबी नपुग्ने फैसला गरेको छ । सर्वोच्च अदालतकै पूर्ण इजलासले टुंग्याएको मुद्दामा तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्र अवकाश हुनुभन्दा दुई साताअघि ‘अर्थपूर्ण रूपमा’ निवेदन दर्ता भएको थियो । प्रेरणाले उक्त जग्गा आफ्नो हुने दाबीसहित सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिएकी थिइन् । संवैधानिक इजलासले शुक्रबार उनको दाबी नपुग्ने भन्दै निवेदन खारेज गरेको हो ।
तत्कालीन राजा ज्ञानेन्द्रबाट दाइजोका रूपमा पाएको सम्पत्ति राष्ट्रियकरण गर्ने सरकारको निर्णयविरुद्ध प्रेरणा सर्वोच्च अदालत गएकी थिइन् । सर्वोच्च अदालतको संयुक्त इजलासले जग्गा उनकै हुने भनी फैसला गरेकामा पछि पूर्ण इजलासले त्यसलाई उल्ट्याएर नेपाल ट्रस्टकै हुने ठहर गरेको थियो । पूर्ण इजलासको निर्णय अन्तिम हुने भए पनि सर्वोच्च अदालत प्रशासनले त्यति बेला प्रेरणाको निवेदन दर्ता गरेर सुनुवाइ गरेको थियो । पछिल्लो समय प्रेरणाले नेपाल ट्रस्ट ऐनका केही दफा संविधानसँग बाझिएकाले त्यसलाई खारेज गरी आफूले दाइजोस्वरूप पाएको जग्गासमेत फिर्ता पाउनुपर्ने दाबी गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले मुद्दा खारेज गर्ने फैसला गरेको हो । सर्वोच्चबाट एक पटक न्यायनिरूपण भइसकेको मुद्दा फेरि दोहोर्‍याउन मिल्दैनथ्यो । मुद्दा फैसलाका क्रममा कुनै गम्भीर पक्ष छुटे वा समस्या भए पुनरावलोकनका लागि निवेदन दिने व्यवस्था छ । तीन न्यायाधीशको इजलासले उक्त निवेदन जायज ठाने पुनरावलोकनका लागि निस्सा दिने चलन हुन्छ । पुनरावलोकनबाट किनारा लागिसकेको मुद्दा भने कुनै पनि हालतमा दोहोरिँदैन ।
२०७३ पुस २१ गते प्रेरणाको मुद्दा फैसला भएकामा दुई वर्षपछि २०७५ पुस ६ गते उनले अर्को निवेदन दर्ता गराएकी थिइन् । तत्कालीन प्रधानन्यायाधीश मिश्रले अवकाश पाउने बेला योजनाबद्ध रूपमा दर्ता गरिएको निवेदनमाथि सुनुवाइ भएर कागजात झिकाउने आदेशसमेत भएको थियो । प्रेरणाले निवेदनमा नेपालको संविधानले नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको सम्पत्तिको हकलाई नेपाल ट्रस्ट ऐनका केही दफाहरूले उल्लंघन गरेको दाबीसहित त्यसको बदरको दाबी गरेकी थिइन् ।
तत्कालीन प्रधानन्यायाधीश रामकुमार साहसहित न्यायाधीश चोलेन्द्रशमशेर राणाले २०७२ असार ६ गते छाउनीस्थित १५ रोपनी १ आना जग्गा र त्यसमा बनेको घर पूर्वराजकुमारी प्रेरणाकै हुने भनी फैसला गरेका थिए । संयुक्त इजलासले गरेको उक्त फैसलाले २०६२ सालमा रैकरका रूपमा दर्ता भएको जग्गा तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो दिएको, सरकारले दिवंगत राजा वीरेन्द्रको भनी दाबी गरे पनि त्यसबारे वस्तुनिष्ठ प्रमाण देखाउन नसकेको, दाइजो दिइसकेपछि प्रेरणाले भोगचलन गरिसकेको जग्गा त्यसपछि निर्मित कानुनका आधारमा नेपाल ट्रस्टको मातहत ल्याउन नमिल्ने जस्ता आधार लिएको थियो । फैसलामा दाइजोका रूपमा हक हस्तान्तरण गरिसकेको जग्गा र त्यसमा बनेको घर पछि बनेको कानुनका आधारमा ट्रस्ट मातहत ल्याउन र प्रेरणाको हक हरण गर्न नमिल्ने भनी व्याख्या गरिएको थियो ।
नेपाल ट्रस्ट र भूमिसुधार मन्त्रालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले उक्त जग्गा राजा ज्ञानेन्द्रको नभई तत्कालीन ‘श्री ५ महाराजाधिराज’ का नाममा रहेको जिकिर गरेको थियो । नेपालको अन्तरिम संविधानले दिवंगत राजा वीरेन्द्रका नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गरी नेपाल ट्रस्टअन्तर्गत ल्याउने निर्णय गरेको थियो । २०६३ जेठ ४ गतेको संसदीय घोषणाले दिवंगत राजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्ति सरकारीकरण गरेको थियो । त्यही नीतिअनुसार सरकारले २०६४ पुस १ गते उक्त जग्गा ट्रस्ट मातहत ल्याउने निर्णय गरेको थियो ।
नेपाल ट्रस्टको जग्गाबारे जानकार एक कानुन व्यवसायीका अनुसार उक्त जग्गामा तत्कालीन राजा वीरेन्द्रको हक जोडिने पर्याप्त आधार देखिए पनि पूर्वराजा ज्ञानेन्द्रको कुनै स्वामित्व दाबी मिल्ने कागजात थिएन । ‘पूर्वराजाकै हक नपुग्ने जग्गा कसरी छोरीका नाममा भयो भन्ने हाम्रो जिकिर थियो,’ ती कानुन व्यवसायीले भने, ‘सामाजिक सुधार ऐनले समेत यसरी जग्गा दाइजो दिन मिल्ने परिकल्पना गरेको छैन ।’

 

समाचार

पूर्वमन्त्री आलम थुनामै रहने

- कान्तिपुर संवाददाता

वीरगन्ज (कास)– पूर्वमन्त्री मोहमद आफताब आलमविरुद्धको विस्फोटक पदार्थ प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दामा उच्च अदालतको वीरगन्ज इजलासले शुक्रबार रौतहट जिल्ला अदालतको फैसलालाई सदर गरेको छ ।
जिल्ला अदालतको गत कात्तिक २९ मा आलमलाई पुर्पक्षका राख्न आदेश गरेको थियो । उच्च अदालतका स्रेस्तेदार ठाकुर खरेलका अनुसार न्यायाधीश सत्यमोहन जोशी थारू र डिल्लीराज आचार्यको संयुक्त इजलासले जिल्लाकै आदेशलाई सदर गरेको हो । नख्खु कारागारमा रहेका आलमले जिल्लाको आदेश बेरितको भन्दै तारेखमा रही मुद्दामा पुर्पक्ष गर्न पाऊँ भनी उच्च अदालतमा निवेदन दिएका थिए ।
‘निवेदकको राजनीतिक शक्ति एवं सार्वजनिक पद, क्रूर यातना तथा अमानवीय एवं अपमानजनक वारदातको प्रकृति तथा एउटै वारदातमा एकभन्दा बढी व्यक्तिउपर एकभन्दा बढी कसुर भएको भन्ने अभियोग दाबीको कसुरहरूको प्रकृति देखिने समेतका आधारहरूले निवेदकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम धरौटी/जमानत माग गर्ने आधारहरू र अवस्था विद्यमान रहेको देखिएन,’ अदालतको आदेशमा उल्लेख छ । यसैगरी विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दा रौतहट जिल्ला अदालतबाट पर्सा जिल्ला अदालतमा सारी पाउँ भनी परेको निवेदनमा न्यायाधीशद्वय थारू र आचार्यको संयुक्त इजलासले मुद्दा सार्ने अवस्था नदेखिएको
आदेश गरेको छ ।
रौतहट जिल्ला अदालतबाट सारेर बाँकी सुनवाइ गरी संविधानबमोजिम स्वच्छ सुनवाइसम्बन्धी हकको प्रत्याभूति गरिपाउँ भनी निवेदन दर्ता भएको थियो । ‘विचाराधीन उक्त मुद्दाको बाँकी कामकारबाही र किनाराका सम्बन्धमा रौतहट जिल्ला अदालतबाटै कानुन बमोजिम गर्नु/गराउनु न्यायको रोहमा मनासिब देखियो,’ उच्च अदालतको आदेशमा उल्लेख छ ।

समाचार

सेनालाई झन् शक्तिशाली बनाइँदै

- जगदीश्वर पाण्डे,मातृका दाहाल

(काठमाडौं) - नेपाली सेनामातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसद् सचिवालयमा दर्ता गरिएको विधेयकमा सैनिक गुप्तचरीलाई सशक्त बनाउन छुट्टै विभाग गठनसहितको नियमावली बनाउने प्रस्ताव छ ।
ऐनको दफा १४३ को खण्ड (ढ) मा प्रस्ताव गरिएको नयाँ व्यवस्थाअनुसार इन्टेलिजेन्स (गुप्तचर) सेवा गठन तथा सञ्चालनसम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्ड (सुराकी खर्च) बाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको खर्च रकम मिनाहासम्बन्धी विषय भन्ने उल्लेख छ । यसअघि यस उपदफाको खण्डमा ‘इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्डबाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको खर्च रकम मिनाहासम्बन्धी विषयमा’ भन्ने उल्लेख थियो । यसमा कुनै पनि गुप्तचर संस्थाको उल्लेख गरिएको थिएन ।
राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले आफ्नो निकायको कार्यशैलीजस्तै हुने गरी सेनाले व्यक्तिगत विवरण, फोन ट्यापिङ, सामाजिक सञ्जाललगायत अन्य निगरानी हुने गरी कानुनको मस्यौदा बनाएपछि गृहमार्फत लिखित असन्तुष्टि जनाएको थियो । रक्षा मन्त्रालयले विधेयकको मस्यौदा बनाउनुअघि राअविसँग पनि छलफल गरेको थियो । छलफलमा विवाद नआउने गरी कानुन बनाउने आश्वासन दिइए पनि त्यसभन्दा विपरीत मस्यौदा तयार
भएपछि राअविले लिखित रूपमै असहमति जनाएको गृह मन्त्रालय उच्च स्रोतले जानकारी दियो ।
राअविको अनुरोधलाई नसुनी सरकारले सेनाभित्र शक्तिशाली गुप्तचर विभाग गठन गर्ने गरी सैनिक ऐन २०६३ संशोधन गर्न लागेको हो । विधेयक संसद्बाट पारित भएपछि सेनाले गुप्तचरमार्फत गर्ने खर्चलाई सार्वजनिक गर्नुपर्ने छैन । सैनिक गुप्तचरको नाममा आफ्नै तरिकाले सेनालाई रकम खर्च गर्ने बाटो खुल्नेछ ।
मन्त्री पोखरेलले विधेयकको उद्देश्य र कारणमा संवैधानिक दायित्व पूरा गर्न एवं राष्ट्रिय सुरक्षा नीतिबमोजिम शान्ति, द्वन्द्व र युद्धकालीन अवस्थामा सेनाले आफ्नो जिम्मेवारी प्रभावकारी ढंगबाट बहन गर्न र परिवर्तित परिस्थिति तथा भावी सुरक्षा चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सैनिक इन्टेलिजेन्सलाई समयसापेक्ष आधुनिकीकरण गरी थप प्रभावकारी बनाउन आवश्यक भएको उल्लेख गरेका छन् । हाल सैनिक ऐनबमोजिम केबल इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्डबाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको खर्च रकम मिनाहासम्बन्धी विषयमा मात्र नियमावली बनाउन पाउने व्यवस्था छ । सैनिक इन्टेलिजेन्स सेवा गठन र सञ्चालन सम्बन्धमा नियमावली बनाउन सक्ने स्पष्ट व्यवस्था नरहेकाले ऐन संशोधन गर्न लागिएको मन्त्री पोखरेलले उल्लेख गरेका छन् । ‘नेपाली सेनालाई नेपालको संविधान एवं कानुनप्रदत्त जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि सैनिक इन्टेलिजेन्ससम्बन्धी हाल भइरहेकै कामलाई व्यवस्थित र थप प्रभावकारी बनाउन सैनिक इन्टेलिजेन्स सेवा गठन तथा सञ्चालन सम्बन्धमा समेत एक छुट्टै नियमावली तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक भई हाल प्रचलनमा रहेको ऐनलाई संशोधन गर्नुपर्ने भएको’ उनको दाबी छ ।
राअविका एक पूर्वअधिकारीका अनुसार सरकारले सेनाभित्र बनाउन लागेको नयाँ शक्तिशाली गुप्तचर निकायले मुलुकलाई भविष्यमा संकट पार्न सक्छ ।
‘सैनिकभित्र शक्तिशाली गुप्तचर निकाय ती मुलुकहरूमा हुन्छन्, जहाँ सैनिक शासन हुन्छ वा सेना सबैभन्दा बलियो हुन्छ,’ ती कर्मचारीले भने, ‘सरकारले लिएको यो निर्णयले पछि जननिर्वाचित सरकारलाई असर गर्न सक्छ ।’
प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको राअविले अहिले मुलुकमा गुप्तचरीको काम गरिरहेका बेला सरकारले फेरि अर्को गुप्तचर निकायलाई सक्रिय बनाउँदा मुलुक गलत बाटोमा जान सक्ने ती अधिकारीको धारणा छ । विशेष सेवा ऐन २०४२ अन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग आएको थियो । गृह मन्त्रालयअन्तर्गत रहेको उक्त विभागलाई केपी शर्मा ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएका हुन् । सेनामा अहिले डाइरेक्टर जनरल अफ मेलिटरी इन्टेलिजेन्स (डीजीएमआई) ले सैनिक गुप्तचरको काम गर्दै आइरहेको छ । दुई वर्षअघि मिलिटरी इन्टेलिजेन्स (एमआई) बाट डीजीएमआई बनाइएको हो । डीजीएमआईको नेतृत्व उपरथीले गर्छन् ।
सैनिक गुप्चर विभाग गठनसँगै रथीको एक पदसमेत थप्न सेनाले लबिइङ गरिरहेको छ । अहिले सेनामा प्रधानसेनापतिपछि दुईवटा रथी पद बलाधिकृत र बलाध्यक्ष विभागमा कायम छ ।
सरकारले केही समयअघि संसद् सचिवालयमा संशोधनका लागि दर्ता गरेको विशेष सेवा ऐनमा नागरिकका गोपनीयता हनन हुने गरी कल रेकर्ड गर्न पाइने व्यवस्था छ । उक्त व्यवस्थाले संविधानमा रहेको गोपनीयताको हक हनन गर्छ । विशेष सेवा ऐनमा टेकेर सैनिक गुप्तचरले जनताको गोपनीयता हनन हुने सूचना प्राप्त गर्न सक्छन् ।
पूर्वउपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले लोकतन्त्र र गणतन्त्रविरुद्धका व्यवस्थाहरू रहेको भन्दै सैनिक ऐन संशोधन विधेयकको मस्यौदालाई यसअघि सुझावसहित रक्षा मन्त्रालयमा फिर्ता पठाइदिएको जानकारी कान्तिपुरलाई दिएका थिए । यादव सरकारबाट बाहिरिएपछि
रक्षा मन्त्रालयले फेरि उक्त विधेयकलाई कानुन मन्त्रालयबाट स्वीकृत गराई अघि बढाएको हो ।

Page 4
वाग्मती प्रदेश

खरिपाटीमा भवन खाली गरिँदै

नोवल कोरोना संक्रमण
चीनमा रहेका कोरोना भाइरस प्रभावित नेपालीलाई ल्याएपछि क्वारेन्टाइनमा राख्न केन्द्र छानिएको हो, शुक्रबार प्रजिअसहितको टोलीले केन्द्रको निरीक्षण गरेको छ
- कान्तिपुर संवाददाता
क्वारेन्टाइनका लागि भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र भवन खाली गराउँदै कामदार । वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनका ५० कोठा खाली गरिनेछ । तस्बिर ः लीला श्रेष्ठ/कान्तिपुर

(भक्तपुर) - चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रका दुई वटा भवन खाली गरिँदै छ । केन्द्रका निर्देशक बलराम सिलवालका अनुसार वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनमा ५० कोठा खाली गरिएको हो । ‘भवनका सामान सार्न बिहीबार बिहानदेखि करिब ५० कामदार खटाइएका छन् । शनिबारसम्म भवन खाली भइसक्छ,’ उनले भने ।
नोवल कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई चीनबाट ल्याएपछि क्वारेन्टाइनमा राख्न केन्द्र छानिएको हो । केन्द्रमा शुक्रबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित सुरक्षा निकाय अधिकारीहरूले निरीक्षण गरेका छन् । ‘सरकारले क्वारेन्टाइनका लागि ठाउँ छानेको सुनेको हो । लिखित निर्णय आएको छैन,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन् । केन्द्रको प्रवेशद्वारमा सुरक्षाकर्मी खटाइसकेको समेत उनले जानकारी दिइन् ।
सरकारले चीनको हुवेई प्रान्तमा रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काउँदै छ । स्वदेश फर्काएपछि उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राख्न छुट्टै ठाउँ व्यवस्था गर्न लागिएको हो । प्रधानमन्त्रीको कार्यालयबाट आएका कर्मचारीले अवलोकन गरेर खरिपाटीस्थित केन्द्रको भवन खाली गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
नेपाल सरकारले खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र चयन गरेको भन्ने सुनेपछि स्थानीय बासिन्दा भने विरोधमा उत्रिएका छन् । उनीहरूले बुधबार कालो झन्डासहित चाँगुनारायण नगरपालिका घेराउ गरेका थिए भने केन्द्रको प्रवेशद्वारमा नारा लेखेको ब्यानर झुन्ड्याएका थिए । उनीहरूलाई केन्द्रमा क्वारेन्टाइनमा राख्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
चाँगुनारायण नगरपालिकाको छैटौं नगरसभाले शुक्रबार क्वारेन्टाइनका लागि खरिपाटीको विकल्प खोज्न सरकारलाई अनुरोध गरेको छ । नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरसभाले स्थानीय बासिन्दा त्रसित भएकाले अन्य स्थान छनोट हुनुपर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ भक्तपुरले मंगलबारै चीनबाट फर्किएका नेपालीलाई खरिपाटी केन्द्रमा नराख्न सरकारसँग आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । क्षेत्रीय सभापति जीवन खत्रीले सरकारले तयारीबिना घना बस्तीको बीचमा कोरोना प्रभावित क्षेत्रबाट ल्याउने नेपालीलाई क्वारेन्टाइनमा राख्न लागेको भन्दै आपत्ति जनाए ।


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कोरोना भाइरस प्रभावित क्षेत्र चीनबाट ल्याइएका विद्यार्थीलाई भक्तपुरमा राख्न दिन नहुने बताए । नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समितिको सातौं जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले कोरोना भाइरस संक्रमितको उपचारका लागि नेपाल सरकारको तयारी राम्रो नरहेको बताए । ‘चीनले कोरोना भाइरस प्रतिरोध गर्न तीव्र गतिमा काम गरिरहेकाले नेपाली विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी हुँदैन,’ उनले भने ।
कोरोना भाइरसको जोखिममा रहेका चीनमा बस्दै आएका नेपालीलाई उद्धार गर्न सरकारले ढिलाइ गरेको भन्दै आलोचनासमेत भइरहेको छ ।

वाग्मती प्रदेश

चीनलाई मास्क सहयोग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले चीनलाई मास्क सहयोग गरेको छ । नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई सरकारले एक लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको हो ।
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरूलगायत सुरक्षा निकायका प्रमुखसहितको बिहीबार बसेको बैठकले प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरे । चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको माग अत्यधिक छ ।
परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा राजदूत यान्छीले कोरोना भाइरसको संक्रमणसँगको संघर्षको समयमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्त्वपूर्ण भएको बताइन् । उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको पनि भनाइ राखिन् ।

वाग्मती प्रदेश

बम्जन खोज्दै प्रहरी

- कान्तिपुर संवाददाता
सिन्धुलीको कमलामाई–८ पैरेस्थित आश्रमबाट शुक्रबार बम्जनका अनुयायीलाई नियन्त्रणमा लिँदै प्रहरी । तस्बिर ः कान्तिपुर

(सिन्धुली) - सदरमुकामबाट सिलामे जाने बाटोमा शुक्रबार उज्यालो नहुँदै प्रहरीको लस्कर देखेर स्थानीयले आश्रममा केही हुँदै छ भन्ने अनुमान लगाइसकेका थिए । उनीहरूले अनुमान गरेजस्तै प्रहरी टोली ‘लिटिल बुद्ध’ उपनामले चिनिने रामबहादुर बम्जनलाई पक्राउ गर्न जंगलले घेरिएको आश्रम ताकेर हिँडेको थियो । टोलीले झिसमिसेमै कमलामाई नगरपालिका–८ पैरेको आश्रममा घेरा हाल्यो तर बम्जन फेला परेनन् ।
विभिन्न आश्रममा रहँदा पाँच जना आनी र अनुयायी बेपत्ता पारेको, यौन दुर्व्यवहार गरेको, यातना दिएको आरोप लागेका बम्जनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश २ को दंगा टोली, सर्लाही प्रहरी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली शुक्रबार बिहान आश्रम पुगेको हो ।
जिल्ला अदालत सर्लाहीले बिहीबार बम्जनलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । बम्जन आश्रममा फेला नपरेपछि उनका विशेष अनुयायी ज्ञानबहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर केसीले यौन हिंसाको जाहेरी परेकाले रामबहादुर बम्जनको खोजी गरिरहेको बताए ।
रौतहटकी एक युवतीले सर्लाहीको पत्थरकोटमा रहेको आश्रममा बम्जनले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम बनाएर बस्न बम्जन २०६८ असार १ मा सिन्धुली आएका थिए । त्यति बेला सर्वसाधारणले उनलाई सहज तरिकाले भेट्न पाउँथे ।
सिन्धुलीमा ३ महिना बसेर उनी सर्लाहीको पत्थरकोट गएका थिए । २०७४ असोजदेखि भने सिन्धुलीलाई नै आश्रम बनाएर उनी बसिरहेका थिए । करिब ४२ बिघा जमिनमा आश्रम छ । २४ बिघा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा हो । बम्जन भने चिनियाँ शैलीको आलिसान भवनमा बस्थे । उक्त भवनमा जोकोही छिर्न पाउँदैनन् ।

वाग्मती प्रदेश

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा

- कान्तिपुर संवाददाता

काभ्रे (कास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नमोबुद्ध नगरपालिकामा छापा मारेको छ । प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्कमा अनियमितताबारे विभिन्न सञ्चारमाध्ययममा समाचार प्रकाशित भएपछि आयोगले छापा मारेको हो ।
सक्कल रसिदभन्दा कम राजस्व दाखिला भएको र शक्तिको आडमा राजस्व छली भएको समाचार सार्वजनिक भएका थिए । शुक्रबार नगरपालिका पुगेको आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले राजस्व संकलनका लागि प्रयोग भएका रसिदलगायतका कागजपत्र नियन्त्रणमा लिएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘सञ्चारमाध्यमा प्रकाशित समाचारलाई आधार बनाएर छानबिन थालेका हौं ।’ अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै उनले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् ।
नगरका कर्मचारीले करदातालाई ३ हजारको रसिद दिएर नगरपालिकामा रहने नक्कल (ओसी) मा १ हजार मात्रै लेखेको भेटिएको थियो । ती कर्मचारीले कार्बन नराखी बिल काटेर पछि आफै कम रकम भर्ने गरेका थिए । नगरपालिका स्रोतअनुसार ५० वटा रसिद रहने एक प्याडका १५ भन्दा बढी रसिदमा कम रकम उल्लेख गरेर अनियमितता गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ठेक्कामार्फत ४ करोड ६२ लाख संकलन भए पनि चालु आर्थिक वर्षमा ५ पटक बोलपत्र आह्वान गर्दा पनि ठेक्का नलागेको भन्दै नगरपालिकाकाले आफ्ना कर्मचारी प्रयोग गरेर राजस्व संकलन गर्दै आएको थियो । स्रोतका अनुसार करिब २ हजार टिपरमा आएका बालुवा र गिट्टीको राजस्व लिइएको छैन । ३ हजारका दरले हिसाब गर्दा ६ महिनाको अवधिमा छलिएको राजस्वको परिणाम ६० लाख हुन्छ ।
अनियमितता भएका केही प्रमाण फेला परेपछि नगर कार्यपालिकाले लेखा समिति संयोजकसमेत रहेका वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय अधिकारीको अध्यक्षतामा ७ नं वडाका अध्यक्ष धर्मसिं तामाङ, २ नं वडाका अध्यक्ष सञ्जीव ढकाल सदस्य र कम्प्युटर अपरेटरको पदमा नियुक्त लेखाका कर्मचारी राजीव श्रेष्ठ सदस्यसचिव रहेन गरी छानबिन समिति गठन गरेको थियो । समितिका ३ जनाले भने राजीनामा दिएका छन् ।

Page 6
विविधा

पितृसत्ताको जन्म र विस्तार

- मधु राई

पितृसत्तात्मक सोच र व्यवहारले पितृ, पिता, पुत्र अर्थात् पुरुषजातिको उन्नति र उन्नयनको मात्र सपना देख्छ । यस्तो सपना देख्ने पुरुषहरूले आफू र आफ्नो सपना पूरा गर्न जस्तोसुकै निर्णय लिने गर्छन् । उनीहरूको यस्तो निर्णयले विपरीत लिङ्ग अर्थात् महिलाको क्षमता, योग्यता र दक्षतालाई सधैं नकार्छ । कथंकदाचित अवसर दिइहाले पनि पहिले आफ्नै आमा, सासु, श्रीमती, छोरी, बुहारी लगायत नातागोताभित्रका महिलालाई प्राथमिकतामा पार्छन् । यसो हुँदा फेरि पनि फरक जाति, वर्ग र समुदायका महिलाहरू सधैं सिमान्तीकृत हुन्छन् ।
पितृसत्तात्मक सोच कुनै निश्चित वर्ग, जाति र समुदायमा जन्मने होइन । विशेषगरी मानवको रूपमा महिलाले जन्म दिए पनि उसले आफू हुर्कने वातावरण कस्तो पाउँछ, त्यसैमा निर्भर गर्छ, उसको सोच र व्यक्तिगत व्यवहार । यस अर्थमा पितृसत्तात्मक सोच भएका अभिभावकहरूबीच हुर्कने कतिपय बालबालिका कालान्तरमा आफ्नै अभिभावकको सिको गर्छन् र उनीहरूमा पितृसत्तात्मक सोचको विकास हुन्छ र सोही अनुरुपको व्यवहार गर्छन् । नेपाली समाजमा पितृसत्तात्मक सोचको विकास र यसको विस्तार कसरी भइरहेको छ भन्ने अदृश्य कारणहरू थुप्रै हुन सक्छन् ।
हुँदाखाने मात्र हैन, अधिकांश पढेलेखेका हुनेखाने घरपरिवारमा पनि पितृसत्तात्मक सोच नराम्ररी झाङ्गिएको देखिन्छ । अधिकांश हुँदाखाने परिवारमा गरिबी र अशिक्षाका कारण छोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको कमी छँदैछ । छोरालाई पढाइहाले पनि ‘अर्काको घरजाने छोरीलाई किन पढाउने ?’ भन्ने पितृसत्तात्मक सोच व्यवहारगत रूपमा परिलक्षित हुन्छ । छोरालाई चिकित्सक र इञ्जिनियर बनाउन चाहने कतिपय शिक्षित अभिभावकसमेत छोरीलाई चाँडै ज्वाइँको जिम्मा लगाउन खोज्छन् । यी र यस्ता पितृसत्तात्मक सोचले गर्दा कतिपय छोरीको भविष्य दुःखदायीमात्र बनेको छैन, माइतीघरले नै भरथेग गर्नुपरेको छ ।
तुलनात्मक रूपमा नेपाली समाजमा आर्य समुदायभन्दा जनजाति समुदाय बढी प्रजातान्त्रिक देखिन्छ । तथापि जनजाति समुदायभित्र पनि पितृसत्ताले नराम्ररी जरा गाडेको पाइन्छ । घरपरिवारभित्र पितृसत्ताको विस्तार र प्रभाव थाहा पाउन त्यस परिवारका महिला सदस्यले पाउने अवसर र शिक्षाबाट परिलक्षित हुन्छ । किनभने कतिपय जनजाति घरपरिवारका पुरुषहरूमा पनि ‘पुरुष भनेको सर्वेसर्वा हुन्, उनीहरूले भनेका हरेक आदेश महिलाले शिरोधार्य गर्नुपर्छ’ भन्ने सोच नराम्ररी झाङ्गिएको छ । अझ दुःखलाग्दो कुरा त कतिपय देश/विदेश घुम्ने अवसर पाएका जनजाति परिवारका पुरुषहरू बाहिर आधुनिक देखिए पनि उनीहरूको सोच र जीवनशैली परम्परागत नै छ ।
समुदाय चाहे जुनसुकै होस्, महिलाप्रतिको पुरातन दृष्टिकोण र व्यवहारले पितृसत्तात्मक सोच जन्मने गर्छ । यस्तो सोचलाई विस्तार गर्ने कार्यमा पुरुषहरूलाई महिलाले परोक्ष र प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको देखिन्छ । उनीहरूको मुख्य भूमिका भनेको परिवारका पुरुषहरूको दैनिकी र जीवनशैली सहज बनाउनु हो । समयमा खाना खुवाउनुपर्ने मुख्य भूमिका बाहेक घरपरिवारभित्रको अरु सहायक काम गर्दर् ैऊर्जाशील उमेर खर्चेका अधिकांश गृहिणी महिलाहरू आज कोही वृद्धाश्रम पुगेका छन् भने कोही घरपरिवारभित्रै एक्लिएका छन् । यसरी जीवनभरि पुरुषको हरेक आदेश शिरोधार्य गर्दै आफ्नो ऊर्जाशील उमेर खर्चेका महिलाहरूले पितृसत्ता सोच र व्यवहारलाई पिढीदर–पिढी सार्न र विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देखिन्छ ।
आफ्नै घरभित्रका महिलाहरूको निष्क्रिय जीवनशैली देख्दै हुर्केका पुरुषहरूले बाहिरका महिला जतिसुकै शिक्षित र योग्य किन नहोऊन्, उनीहरूको नजरमा ती तिनीहरूलाई पनि आफ्नै घरका सरह सोझा सम्झने र सोही अनुरुपको व्यवहार गर्ने गर्छन् । यस्ता पुरुषहरूको महिलाप्रतिको पुरातन दृष्टिकोण र व्यवहारले आज योग्य र दक्ष महिलाहरू सिमान्तीकृत गरिँंदैछन् ।
सामाजिक क्षेत्रको के कुरा गर्ने, राजनीतिमा लामो समय आफ्नो ऊर्जाशील समय खर्च गरेकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे लगायतका महिला नेतृहरू राजनीतिभित्र मौलाउँदै गएको पितृसत्तात्मक सोच र व्यवहारको सिकार बन्दैछन् । नेतृत्व तहले गर्ने हरेक निर्णयलाई दलको नीति भन्दै शिरोधार्य गर्ने अधिकांश नेतृ मूकदर्शक बन्न बाध्य छन् । उनीहरूको यस्तो प्रवृत्तिले अन्ततः राजनीतिमा पितृसत्ता हावी हुँदै गएको देखिन्छ । नेतृत्व तहमा अन्य समुदायभन्दा खस–आर्य समुदायका पुरुषहरूको बाहुल्यता देखिन्छ । यसो हुँदा पितृसत्तात्मक समाजले हुर्काएको पितृसत्तात्मक सोचको संवाहक उनै पुरुषहरू बन्न पुगेका छन् भने नेतृहरू जतिसुकै क्षमतावान र योग्य भए पनि प्रत्यक्ष र परोक्ष रूपमा पितृसत्तालाई मलजल गर्न बाध्य छन् ।
राजनीतिभित्र मौलाइरहेको पितृसत्तात्मक सोचलाई निर्मलीकरण गर्न आचारसंहिता मात्रै पर्याप्त हुँदैन भन्ने नेतृत्व तहले मनन गर्न जरुरी छ । नेकपाको संगठन विभागले माघ ५ गते ११ बुँदे आचारसंहिता जनसमक्ष ल्याएको छ । बुँदा ५ मा भनिएको छ, ‘समाजमा रहेका कुरीति, रुढिवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरुद्ध सधैं खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैं प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूत व्यवहार गरेको प्रमाणित भएमा तुरुन्तै पार्टीबाट निष्कासन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउनुपर्छ ।’ तर तिनले आचारसंहिता बनाएर मात्र हुँदैन, नेतृत्वमा झांगिएको पितृसत्तात्मक सोच र व्यवहार नसुध्रिएसम्म अरुलाई सुधार्न गाह्रो छ ।

 

विविधा

टुरिस्ट, प्राच्यवाद र नेवार

समय रेखा
- अभि सुवेदी

 

नेपाल भ्रमण वर्ष २०२०, यसको तयारी र उद्घोषणले केही कुरा खोलिदिएको छ । कलाकारहरूसँग नजिक भएको र कला समीक्षा लेखिबस्ने व्यक्ति भएकोले पर्यटक भित्र्याउन कलाको प्रयोगको सन्दर्भले म यहाँ तानिएको हुँ । मलाई तान्ने यतीको काल्पनिकी र तयारीमा जुटेकाहरूले रचेको यसको कलेवर रह्यो । यो यतीको काल्पनिकीलाई निबन्धकार किशोर नेपाल यही हप्ताको ‘नेपाल’ साप्ताहिकमा ‘अद्भुत र अदृश्य । निराकार तैपनि चैतन्य’ भन्छन् । यतीको यति थोरै शब्दमा यस्तो चित्रण गरिएको आजसम्म मैले भेटेको छैन । कलाकारको मलाई अत्यन्त मनपरेको विम्ब प्रमिला गिरीले बनाएको नेपाल एयरलाइन भवनको प्राङ्गणको यती ‘स्कल्पचर’ हो । म त्यसैमा बसेको छु, ‘भिजुअल’को निम्ति ।
म यहाँ यो सरल, काल्पनिकीमा ऊर्जा थप्ने हामीले ह्रस्व लेख्ने गरेको यस ‘निराकार’ र ‘चैतन्य’ मानिएको विम्बको विषयमा लेख्न लागेको होइन । यो यती नामको एउटा हिमाली मानवको अर्धमिथकीय कलेवरको विषयमा निकै व्याख्या गरिएका छन् । यो प्राणी नदेखिएको, नछोइएको र नजिकैबाट उसको बोली नसुनिएको भए पनि नेपाली मानसमा यसले निकै गहिरो प्रभाव पारेको प्रस्ट छ । तर यो अर्धमानव कलेवरले हामीलाई लोभ्याउनुको अन्तर्यमा यसको पर्यटक र विदेशी लेखकहरूले यसको प्रयोग गरिबस्नु नै हो । अर्थ हो, ‘तिमीलाई यति धेरै लोभ्याउने र आकर्षित गर्ने यती हेर्न, त्यसो भए आऊ न त ।’ अनि त्यही प्रयोजनको निम्ति हामीले चोक, बहाल र मुख्य मोडहरूमा यी यती नामधारी डम्फुहरूका मूर्ति प्रतिष्ठापन गर्‍यौं र कलाकारहरूलाई तिनमाथि रङ्गविधानका प्रयोग गर्न आह्वान गर्‍यौं । यस विषयमा पनि केही विवाद, केही कलाका अकारहरूमाथि हमला भए । यो दुःखद कुरा हो । तर यो अवस्था आउन दिनुमा व्यवस्थापनको कमजोरी रहेको कुरा सर्वविदित छ । त्यसो त हिममानव काल्पनिकीको शेर्पा समाज र कथानकमा प्रयोग नभएको होइन । तेन्जिङ शेर्पाले सगरमाथा आरोहण गरेपछि लेखेको/भनेको ‘टाइगर अफ् दि स्नो’ भन्ने किताब (जुन पछि अर्को शीर्षकमा प्रकाशित भयो) मा यतीको केही बयान गरेका छन् । भूगोलविद रामकुमार पाँडेले यती विषयमा पनि लेखेका छन् ।
नेपालमा हामीले हामी बाहिरकाहरूलाई कस्तो देखिन्छौं भन्ने कुरा बुझ्न स्वभावतः तिनका प्रतिक्रियाहरूलाई नै आधार मान्यौं । विदेशी पर्यटक र लेखकहरूका अमूक थलोको विषयमा के धारणा हुन्छन् भन्ने विषय जटिल र महत्त्वपूर्ण हुन्छ । उनीहरूले खासगरी युरोपेलीहरूले यतातिर वा पौरस्त्य भूखण्डमा आएर उनीहरूको मनमा लागेका कति ठिक कति उड्दा कुरा राखेर वर्णन लेखे अनि युरोपमा प्रकाशित गरे वा प्रतिवेदन दिए । युरोपली पर्यटक वा अध्येताहरूले यता आउँदा तिनै वर्णनहरूलाई आधार राखे । यसले भ्रम सिर्जना गर्‍यो । त्यसलाई लिएर एडवार्ड सइदले ‘ओरियन्टालिजम’ (१९७८) वा प्राच्यवाद भन्ने किताबै लेखे, जुन अहिलेसम्म उपनिवेशकालको युरोपेली दृष्टिको व्याख्या गर्ने आधार भएको छ । तर पछिल्लो समय एउटा अनौठो धारणाको विकास भयो । यो धारणा नेपाल, भारत लगायत पूर्वका देशहरूमा देखियो । पश्चिमीहरूले अनेकौं वर्णन गरेका उत्पातलाई उनीहरूले खण्डन गर्नुको साटो त्यसैलाई वरण गरे । उद्देश्य एउटै थियो– त्यो हो, तिनै चकित पर्ने पर्यटकहरूलाई लौन त आएर आफैं हेर भनेर बोलाउनु । त्यसरी बोलाउँदा उड्दा कुराले यी टुरिस्टहरूलाई तान्ने रहेछ भनेर धारणा बनाए । यतीका अर्थहीन आकारहरू बनाउनु त्यही उल्टो प्राच्यवाद वा ‘इन्भर्स ओरियन्टालिजम’ हो । यस्ता धारणालाई अलग र सही किसिमले व्याख्या र वर्णन गर्न सकिने कुरा हो । नेपाली संस्कृति र इतिहासको पश्चिमी प्राच्यवादलाई मूलमन्त्र मानेर गरिएका व्याख्याको विद्वान महेशराज पन्तले गरेका बलिया प्रतिवादहरू पढेको छु । त्यसैगरी वास्तुविद सुदर्शनराज तिवारी, इतिहासकार त्रिरत्न मानन्धर र प्रत्यूष वन्तले लेखेका ‘आर्किटेक्चर’ र इतिहासका प्राच्यवादी व्याख्याका प्रतिवाद पनि पढेको छु । हामीले बाहिरका मानिसहरूले हामीलाई कस्ता छन् भनेर देखुन् भन्ने चाहनामा धेरै बंग्याउनु पर्दैन भन्ने भनाइ राख्छौं ।
टुरिस्टले के हेर्छन्, अनि तिनले भ्रमण गरेको मुलुकमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा राम्रा अध्ययन भएका छन् । यो छोटो लेखमा धेरै प्रसङ्ग राख्न उपयुक्त नहुने हुनाले यो विषयसँग मिल्ने केही किताबहरू र तिनले उठाएका विषयको उल्लेखसम्म गर्न चाहन्छु । नेपाल आउने वा अमूक देशमा जाने टुरिस्टले भ्रमण गरेको मुलुकमा के हेर्छन् अथवा ती किन आउँछन् भन्ने कुराका अध्ययन र छलफल हामीकोमा त्यति हुने गरेका छैनन् । नेपालमा ती के हेर्न आउँछन् अथवा हेरिआएका छन् भन्ने कुराको पर्यटक वर्षमा प्रकाशित पाठहरू र विम्बहरूमा मैले खासै देख्न नसकेको अवस्था हो । मेरा पूर्वविद्यार्थी र सहकर्मी शिव रिजालले लेखेको ‘पर्फमिङ फोर टुरिस्ट’ (२०१०) र नेपाल अध्येता अमेरिकी प्राध्यापक मार्क लिट्टीले दशकौंको अध्ययनपछि नेपालको टुरिस्ट संस्कृति र गतिमाथि लेखेको किताब ‘फार आउट’ (२०१७) का प्रसङ्ग जोड्न चाहन्छु । यी दुबै किताब बाहिर प्रकाशित भएका र यहाँ सम्बन्धित मानिसहरूले नपढेका हुनाले पर्यटन विषयसँग जोडिएकाहरूले खोजेर पढ्नुपर्ने कृतिहरू हुन् । शिवको किताब दिल्लीमा प्रकाशित भयो, नेपालमा थोरैमात्र आइपुग्यो । मार्कको किताब शिकागो युनिभर्सिटी प्रेसबाट प्रकाशित भएकोले यहाँ खासै थाहै नपाएको अवस्थालाई चिर्दै मार्टिन चौतारीले गतवर्ष पुनः प्रकाशित गर्‍यो र धेरैले पढ्ने अवसर पाइरहेको स्थिति छ । शिवले बालीको पर्यटन ‘हब’ उबुद्मा गएर टुरिस्ट किन आउँछन् भन्ने विषयलाई लिएर नेपालसँग तुलना गर्दै यो किताब लेखे । उनको अध्ययनको निचोड थोरैमा यसरी राख्न सकिन्छ । टुरिस्टहरू तपाईंको संस्कृति, चलन र प्रस्तुति कला हेर्न आउँछन् । त्यो मानिएको सत्य हो, पर्यटनको क्षेत्रमा । तर ती छँदैछन्, आएर हेरिहाल्छन् भन्ने विश्वासले बस्नेहरू अनि तिनका अतिरञ्जक व्याख्या गरिएका स्तरहीन पाठ र पर्चा निकालेर बाँड्नेहरूले बुझ्नुपर्ने कुरा यस्तो छ । आफ्ना कला, संस्कृति र प्रस्तुतिकलाका सिर्जनात्मक कुरालाई नित्य नयाँ आविष्कार गरिरहनु र परम्परागत नृत्य र नाट्य प्रस्तुतिलाई नयाँ अवस्थामा पनि व्याख्या गरिरहनु अत्यन्त आवश्यक छ (पृष्ठ १५१) । माथि उल्लेख भएका यतीका मूर्तिरचना र खेलवाडले भन्छ, हामीसँग त्यो सामर्थ्य हराउँदै गएको छ । किन हराउँदै गएको छ भन्ने प्रश्नका एकाध आफूलाई लागेका कुरा यहाँ राखेको मात्र हुँ ।
मार्क लिट्टीले नेपालमा आउने पर्यटनको जरो समातेका छन् । कोही मानिस पनि अर्को मुलुकमा घुम्न जाँदा त्यसै जाँदैनन् । एकथरी केही सपना र युटोपियाको खोजीमा जान्छन् । ती काल्पनिकीमा सम्पूर्ण ज्ञान– ‘टोटल नलेज’को खोजीमा जान्छन् । टमस रिचार्डसले आफ्नो ‘साम्राज्यजनिन संग्रहालय’ (१९९३) किताबमा तिब्बतको सांग्रिला नरहेपछि नेपालमा ‘टोटल नलेज’ बाँकी छ भनेर आउने मानिसहरू थिए, यिनीहरू । यसरी सन् ६० को दशकमा नेपालमा आउने पर्यटकको ‘प्राची’ आफ्नै किसिमको थियो । हिप्पी अथवा अरु नामले चिनिने पर्यटकहरू यस्तै सपनाको खोजीमा नेपालमा आएको कुरा मार्कले लेखेका छन् । उनको विचारमा, नेपालमा पर्यटन आगमनको निम्ति तिनको छोटो तर उत्तेजना, उछ्वास, ज्ञान र काव्य मिश्रित चेतना जिम्मेवार थियो । यो अत्यन्त महत्त्वपूर्ण विषय हो । बाहिरबाट यहाँ आउनेहरूले हिमालय, गाँजा, ट्रेकिङ र यहाँका सांस्कृतिक थलाहरू मनपराएको नेपालीको बुझाइ रह्यो । पर्यटनका ‘आइकन’ र विषय सबैतिर त्यस्तै तरल र ‘एक्जोटिक’ हुन्छन् । मेरा पनि बाहिर जाँदाका त्यस्तै अनुभव छन् । तर नेपाल पर्यटन वर्षमा यीसहित भौतिक व्यवस्था अलपत्र छन् भनेर एक प्रख्यात कवि कालिप्रसाद रिजालले एकाध हप्ता पहिले यही समाचारपत्रमा प्रकाशित लेखमा भनेका छन् ।
तर नेपालको सन्दर्भमा कुरा गर्दा नेवारहरूले रचना गरेको नेपाल मण्डलको महान वास्तुकला, सहर, गल्ली, काष्ठकला, पाषाण कला र मूर्तिहरू अनि नृत्य, संगीत र जात्राहरूको विषयमा ध्यान पुर्‍याएर प्रयोग गरेको पाइएन । नेवार सहरहरू खुम्चिएर जाँदैछन् । खुला ठाउँ सहरमा राख्ने नेवार वास्तुकलाको आत्मा हो । कार्ल पुसर (युनेस्कोका अष्ट्रियाली आर्किटेक्ट) ले ‘नेपाल उपत्यकामाथिको बृहत् किताब’ (१९७५) मा नेपाल मण्डलमा ८८८ वटा वास्तु सम्पदा रहेको देखाएका थिए । तर ती भूमाफिया र कल्पना नभएका सरकार र शासकहरूका नीतिले गर्दा विनाश हुँदै गएको अवस्था हो, अहिलेको । पर्यटकहरूलाई त्यो महान कला र प्राचीन नागर परिवेश देखाउनसके धेरै ठूलो काम हुनेछ । अझै पनि ती वास्तुकला र मूर्तिकला तिनै थलोमा छन् । तीसँग सोझै अर्धमुदित आँखाले संवाद गर्न सकिँंदैछ । आफ्ना चलन र कला बचाएर बस्ने नेवारहरू महान हुन् । खासै कुनै प्रस्ट चाख नभएका तर यहाँ आएर रमाउने चिनियाँ पर्यटकहरू (कोरोना भाइरल महामारी छिटै अन्त्य हुने आशा गर्छौं), धार्मिक चिन्ता बढी भएका भारतीय पर्यटकहरू र हिमाल र ‘इन्ट्यान्जिबल कल्चरल हेरिटेज’ मनपराउने पर्यटकहरू भित्र्याउने सबै किसिमका कर्म गर्ने दायित्व बोकेको सरकार र पर्यटन उद्योगमा लागेका मानिसहरूले उत्तुङ हिमालदेखि कलात्मक टुँडालसम्म पर्यटकलाई देखाउनसके मात्र पर्यटन वर्ष सफल हुनेछ ।

विविधा

सडक दुर्घटनाको अर्थ–राजनीति

हरेक आविष्कारले विकास र विनाशसँगै बोकेर आएको हुन्छ– सर्त हामीले त्यसलाई कति विवेकपूर्ण रूपमा प्रयोग गर्छौं भन्ने हो । समाजशास्त्री अगबर्नका अनुसार कतिपय अवस्थामा हाम्रा विचार र व्यवहारको परिवर्तन प्रविधि वा भौतिक आविष्कारहरूको गतिमा पछाडि पर्छन्, जसलाई बुझाउन उनले ‘कल्चरल ल्याग’ (सांस्कृतिक विलम्ब) भन्ने अवधारणा प्रयोग गरेका थिए । उनका अनुसार यस्तो पछि पराई वा विलम्बले समाजमा विभिन्न समस्या ल्याउँछन् । जस्तो— हामी सडक र सवारी साधन प्रविधिको उपयोग गर्न त हतारिएका छौं, तर यससँग राम्ररी सामञ्जस्य कायम गर्न सकिरहेका छैनौं । यसको विवेकसम्मत विकास र प्रयोगका लागि चाहिने मानसिकता र व्यवहारमा आउनुपर्ने परिवर्तनका (जस्तै– ट्राफिक नियम पालना गर्ने) हिसाबले निकै पछि परेका छौं । एकातिर चुच्चे रेल, पानीजहाज र ठूला विमानस्थल जस्ता महत्त्वाकाङ्क्षी आयोजनाहरूबारे घम्साघम्सी बहस गरिरहेका छौं, अर्कोतिर बहुजनको सरोकार भएको सडक र सडक सुरक्षाको बेहालले हामीलाई गिज्याइरहेको विरोधाभासपूर्ण अवस्था छ ।
यस सन्दर्भमा नेपालमा सडक दुर्घटनाको बहसमा यसको सामाजिक–सांस्कृतिक पाटो त्यति धेरै खोतलिएको देखिन्न । बहसमा चालक तथा सडक प्रयोगकर्ताको लापरबाही, खराब सडक र सवारी साधन, ट्राफिक व्यवस्थापनको कमजोरी र भवितव्य जस्ता विषयलाई महत्त्व दिएको देखिन्छ । निश्चय पनि यी महत्त्वपूर्ण तर तात्कालिक कारणहरू मात्र हुन् । समस्याको दीर्घकालीन समाधानका लागि कारणको पनि कारण पहिचान गर्ने बहसको लेठो गर्न आवश्यक देखिन्छ ।
माथि उल्लेख गरिए अनुसार नै सडक एउटा निकै महत्त्वपूर्ण पूर्वाधार हो भन्ने कुरामा दुईमत हुन सक्दैन । तर हाम्रो यो हतारोको परिणामस्वरूप पर्यावरणीय र प्राविधिक हिसाबले खराब सडकहरूको निर्माण र असुरक्षित यातायात साधनको प्रयोग बढिरहेको छ । झन् स्थानीय सरकारको उदयपछि यस्ता सडक बन्ने क्रम ज्यामितीय रूपमा बढेको छ । स्थानीय तहको सिंहदरबारले केन्द्र सिंहदरबारकै कतिपय विरासतलाई निरन्तरता दिएको छ । स्थानीय पर्यावरण, आवश्यकता गुणस्तरको ख्याल नगरी निर्माण गरिएका यी सडकहरू गैरसामरिक धरापजस्ता बनेका छन् । पछिल्लो समय डोजर–टिपर धनी, जनप्रतिनिधिहरू र क्रसर व्यवसायीहरू सहितको एउटा नयाँ वर्गको उदय भएको छ । यो वर्गको उदयले पर्यावरण प्रणालीलाई मात्र होइन, सडक प्रयोग गर्ने मान्छेको जीवनलाई समेत अनिश्चित बनाएको छ । यी कतिसम्म शक्तिशाली र दुःसाहसी छन्् भने यिनले गरेको पर्यावरणीय दोहन र अन्यायको विरोध गर्नेहरूलाई भौतिक आक्रमण र हत्या नै गर्न पछि पर्दैनन् । टिपर र डोजर विध्वंसका पर्याय बन्न पुगेका छन् ।
अर्कोतर्फ केन्द्र अन्तर्गत सञ्चालन भइरहेका र निर्माण भइरहेका सडकको अवस्था पनि निर्माण व्यवसायी, कर्मचारीतन्त्र र राजनीतिक शक्तिमा रहेकाहरू बीचको स्वार्थी गठजोडका कारण लामो समयसम्म दुरवस्थामा रहेको तथ्य कसैबाट लुकेको छैन । तसर्थ यी स्थानीय र केन्द्रीय स्तरमा झाङ्गिएका स्वार्थी–जालो (नेक्सस) लाई निस्तेज नगरी सडक दुर्घटनाको कहरलाई कम गर्न गाह्रो देखिन्छ । केही व्यवसायीलाई कालो सूचीमा राख्ने बाहेक देखिनेगरी यो जालो भत्काउने कुनै सार्थक प्रयास हुनसकेको देखिन्न ।
दुर्घटना भइसकेपछि गर्नुपर्ने अनुसन्धान र रोकथामको लागि गरिनुपर्ने नीतिगत, प्राविधिक र व्यावहारिक सुधारहरूको सन्दर्भमा पनि असमानता र विभेद रहेको देखिन्छ । हवाई दुर्घटना हुने बित्तिकै छानबिन र अनुसन्धान हुने तर सडकमा हुने दुर्घटना प्रहरीको मुचुल्कामा सीमित रहेको तथ्य जगजाहेर नै छ । एकपछि अर्को निरन्तर रूपमा भइरहेका कहालीलाग्दा दुर्घटनाहरूबारे राज्यका निकायहरूले देखाएको संवेदनहीनता उदेकलाग्दो र निर्मम छ । अराजक आन्दोलन नै गर्नुपर्ने र प्रधानमन्त्रीकै ध्यानाकर्षण भएमात्र सुनुवाइ हुने अवस्था विडम्बनापूर्ण हो । गरिएका अनुसन्धान पनि तत्कालको दबाबलाई थामथुम पार्ने जुक्तिजस्तो मात्र देखिएको छ । यसबाट राज्यबाट हुने गरेको विभेदपूर्ण व्यवहार स्पष्ट देख्न सकिन्छ । विभेदको अर्को पाटोको रूपमा सुरक्षा प्रविधिको प्रयोग सम्बन्धमा देखाइएको उदासीनता पनि चर्चायोग्य छ । विगत केही समययता सडक र अटोमोबाइल क्षेत्रमा सुरक्षा प्रविधिको निकै विकास भइसकेको छ । तर नेपालमा सार्वजनिक क्षेत्रका यातायात साधनहरूलाई सुरक्षित बनाउने प्रविधिहरूको प्रयोग अत्यन्त कमजोर अवस्थामा छ । दैनिक लाखौं सर्वसाधारणले प्रयोग गर्ने यातायातका साधनहरूमा यस्ता नवीन सुरक्षा प्रविधिको अनिवार्य प्रयोगबारे न्यूनतम मापदण्ड बनाउनसमेत नियामक निकायले ध्यान नदिनु पछौटेपन र गैरजिम्मेवारीपन हो । केन्द्रदेखि स्थानीय तहसम्मका शासकहरूका लागि अर्बौं मूल्यका विलासी सवारी साधन खरिद गर्न सक्षम राज्य संयन्त्रले सर्वसाधारणको यात्रा सुरक्षित गर्न स्रोत र साधनको अभावको रहेको तर्क दिन गैरजिम्मेवारी हो ।

दातामुखी प्राथमिकता
सडक दुर्घटना र यसबाट हुने मृत्यु र चोटपटक जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । तर नेपालमा यसलाई स्वास्थ्य क्षेत्रको समस्या वा जनस्वास्थ्यको विषयको रूपमा हेरिएको छैन । यसलाई यातायात सम्बन्धी समस्यामात्र नभएर स्वास्थ्य समस्याको रूपमा परिभाषित गर्नु आवश्यक छ । यसले सरोकारवालाहरू र आम जनमानसमा पनि सडक दुर्घटनाप्रतिको संवेदनशीलतालाई बढाउन सक्छ । सडक दुर्घटनामा प्रयोगकर्ताहरूका व्यवहार पनि जिम्मेवार हुने भएकाले यस्ता व्यवहारमा परिवर्तन गर्न पनि यसलाई स्वास्थ्यसँग जोडेर लग्नु आवश्यक छ । स्वास्थ्य क्षेत्रको पहुँच यातायात व्यवस्थासँग सम्बन्धित निकायहरू र संरचनाभन्दा निकै व्यापक रहेकोले चेतना विकास र व्यवहार परिवर्तनसँग सम्बन्धित कार्यक्रमहरूलाई जनस्वास्थ्य समस्याको रूपमा बढी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने प्रशस्त सम्भावना छ । नेपालमा एचआईभी/एड्सको तुलनामा सडक दुर्घटनाबाट हुने मृत्यु र क्षतिको अवस्था अझ गम्भीर छ । तर यसतर्फ सम्बन्धित निकायहरूबाट भइरहेको प्रयास हेर्ने हो भने एचआईभी/एड्सको तुलनामा निकै न्यून रहेको छ (एड्सलाई महत्त्व नदिनेचाहिँ भनिएको होइन) । यसको एउटा प्रमुख कारण दाताको प्राथमिकतामा आधारितमात्रै नीति र कार्यक्रमहरू बन्नु र आफ्ना आवश्यकता तथा समस्या पहिचान गर्न नसक्नु पनि हो । सडक सुरक्षाको क्षेत्रमा दाताको पनि प्राथमिकता नभएको र दान पनि खासै नआएकोले पनि यस्तो उदासीनता देखिएको हुनसक्छ । तर यसलाई हाम्रो आफ्नो प्राथमिकताको रूपमा पहिचान गरी जनस्वास्थ्य सवालकै रूपमा समेटेर लैजानु आवश्यक छ ।

दुर्घटना र सामाजिक असमानता
सडक दुर्घटनाको सामाजिक पाटोबारे नेपालमा खासै अध्ययन, अनुसन्धान भएका छैनन् । परिणामस्वरूप सडक सुरक्षा सम्बन्धी सरकारी नीति र कार्यक्रमहरूले यी पक्षहरूलाई समेट्नसकेको छैन । उदाहरणका लागि सरकारी निकायको एउटा मूल दस्तावेज– नेपाल सडक सुरक्षा कार्ययोजना (२०६९–७७ ) यस बारेमा बेखबर रहेको छ । तर अन्तर्राष्ट्रिय तहमा भएका अध्ययनहरूले व्यक्तिको सामाजिक हैसियत र दुर्घटनाबीच सम्बन्ध देखाएको छ । वञ्चितीकरणमा रहेका समूह र व्यक्तिहरू सडक दुर्घटनाबाट सुरक्षित रहने उपायहरू अवलम्बन गर्ने कुरामा पछि परेका हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदन (ग्लोबल स्टाटस रिपोर्ट अन रोड सेफ्टी २०१८) अनुसार हरेक एक लाख
जनसङ्ख्यामा उच्च आय भएका देशहरूमा सरदर ८.३ जना र नेपालजस्ता निम्न आय भएका देशमा सरदर २७.५ जनाको सडक दुर्घटनाबाट मृत्यु हुन्छ । यसरी विकसित र अल्पविकसित मुलुकहरूबीच मृत्यु अनुपातको फरक तीन गुणाभन्दा बढी देखिन्छ । यो तथ्याङ्कले पनि असमानता र सडक दुर्घटना बीचको सम्बन्धलाई थप बल पुर्‍याउँछ । निम्न आय समूहका देशहरूमा सडक दुर्घटनाका कारण हुने आर्थिक नोक्सानी ती देशको कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत हाराहारी रहेको अनुमान गरिएको छ । रोजगारी गुम्नु, अपाङ्गता हुनु, उपचारमा लाग्ने खर्च, परिवारका सदस्य हेरचाहमा संलग्न हुनुपर्ने जस्ता अवस्थाले गरिबी निम्त्याउने र बढाउने कुरामा ठूलो योगदान गर्छ । सडक दुर्घटनाबाट हुने प्रत्यक्ष वा देखिने आर्थिक नोक्सानीको तुलनामा यसको अप्रत्यक्ष सामाजिक र मनोवैज्ञानिक मूल्य आँकलन गर्न निकै कठिन छ । तसर्थ समाजमा रहेको असमानता र सडक दुर्घटनाबीच सम्बन्ध रहेको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । यसकारण पनि अब बन्ने सडक सुरक्षानीति यस तथ्यबाट सुसूचित हुन आवश्यक छ ।
राज्यले केही पनि गरेकै छैन भन्नु पनि न्यायोचित नहोला । सडक सुरक्षाका लागि ‘मापसे’ र राजधानीमा टिपरलाई समय तोक्ने जस्ता प्रयासको प्रभावकारी कार्यान्वयनले उत्साहजनक परिणाम ल्याएको देखिन्छ । यसले इच्छाशक्ति भए गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ । यो बहु–सरोकारवाला समस्या भएकोले सबै मिलेर समाधानको उपाय खोजी गर्नुपर्छ ।

जनार्दन थापा
ट्वीटर : @jthapa07

Page 7
विविधा

को हुन्– ब्राह्मण ?

- बिनु पोखरेल

 

झापाको माथिल्लो भाग चुरे क्षेत्रमा त्यसबेला पूर्वी पहाडबाट बसाइँ सरेर आएकाहरूले झोडा फाँडेर बसालेको बाक्लो बस्ती थियो । त्यो मलिलो भूभागमा राई, लिम्बु, दमाई, सार्की, बाहुन, क्षत्री सबै जात छ्यासमिस थिए । पहिल्यै आएकाहरूले जग्गा ओगटिसकेका थिए । पछि आएकाहरू पहिले आउनेका जग्गा कमाएर जीविकोपार्जन गर्थे । पहिल्यै आएर दसौँ बिघा जमिन ओगटेर बसेका एकजना सार्की बाको अढाई बिघा जग्गा अधियाँ गर्नुहुथ्यो, मेरो बा पनि ।
सार्की बाको जग्गामा फलेको कुरा लिएर उहाँका घरमा पुर्‍याउन आमाले प्रायः मलाई पठाउनुहुन्थ्यो । एक पटक नौरथा लागेको बेला बिहानै आमाले मलाई फलेका सब्जी बोकाएर पठाउनुभो । उनीहरूले म पुग्नासाथ देवी पुज्ने दिन बिहानै बाहुनी आइपुगिन् भनेर अग्लो ठाउँमा राखेर टीका लगाए, पूजा गरे, अनि उनीहरूकोमा फलेका कुरा दिएर पठाए ।
मैले सार्की बासँग हजुरकी नातिनीलाई पूजा नगरी मलाई किन गरेको भनेर सोधेँ । उनले तिमी बाहुनकी छोरी हौ, त्यसैले भने । मैले सोधेँ– तपाईँ किन बाहुन नभएको त ? उनले लामो जुँगा मुसार्दै मुसुमुसु हाँस्दै भने ब्राह्मण हुन धेरै कुरा पूरा गर्नुपर्छ । धेरै पढेको हुनुपर्छ, जाँडरक्सी खान हुँदैन, अरुलाई मार्ने राक्षस मन भएको हुनुहुँदैन, मेरोजस्तो धेरै सम्पत्ति राख्ने मन भएको हुनुहुँदैन, मैलेजस्तो मेरो परिवार भन्दै बसेको हुनुहुँदैन, सबैको भलो चाहने, सबैलाई बराबर बाँडेर आफू कुटी बनाएर बस्ने, तपस्या गर्ने, दान गर्ने हुनुपर्छ । अनि म त दिनैपिच्छे सुँगुर काटेर खानुपर्ने मान्छे कसरी ब्राह्मण हुनु भन्दै मेरो हातमा पैसा थमाइदिए, त्यसपछि खुट्टा समाएर ढोगे । त्यो दिन म बाहुनी भनेको के हो पत्तो नपाई बाहुनी बनेर संसारकै ठूलो मान्छे भएको महसुस गर्दै फर्किएँ ।
म त्यसबेला बाहुन भनेको नै के होला भन्ने सोच्थेँ । अहिले सोच्दैछु, हामीले जसलाई ब्राह्मण भन्छौँ, ती सबैमा ब्राह्मणमा हुने गुण छ ? मादक पदार्थ नखाने, कुटी बनाएर बस्ने, दान गर्ने, केही कुरामा आशक्ति नभएका छन्, निरामिश, ज्ञान बाँड्दै हिँड्ने खालका छन् ? उसो भए बाहुन अर्थात् ब्राह्मण को हुन्, को होइनन् र कसरी भए ? अहिले वर्ण, जात वा थरका आधारमा समाजको विभाजन नै समाज अविकासको कारण हो भन्ने व्याख्या भैरहेका बेला यस्तो व्यवस्था कसरी आएको थियो, हेर्न जरुरी हुन्छ । यसलाई बुझ्न समाजको सुरुवाती अवस्थामा जाऔं है त एकैछिन् ।
समाज भर्खर बन्दै थियो । परिवार, परिवार बन्न सुरुमात्र हुँदै थियो । अहिलेको जस्तो फलानो वैज्ञानिक, फलानो अर्थविद्, फलानो कृषिविज्ञ भन्ने हुँदैनथ्यो । जुन विधामा राम्रो गरे पनि त्यसलाई सम्मानस्वरुप विद्वानको नाम दिइन्थ्यो । समाजको त्यही सुरुवाती अवस्थामा बनेको थियो– ब्राह्मण, क्षत्रीय, वैश्य अनि शूद्रको विभाजन पनि । समाज विकासको सुरुवाती अवस्थामा कुनै जात जनाउनलाई नभएर त्यसबेलाका मान्छेले गर्ने कामका आधारमा समाजले दिएको पद थिए, अहिलेका जात र थर । जस्तो— ब्राह्मण संस्कृत शब्द हो । ब्राह्मणको अर्थ हो, ब्रह्म बुझेको मान्छे । अर्थात् विद्वान् । क्षत्रीयको अर्थ हो क्षत (नोक्सानी) बाट बचाउने । अर्थात् बलियोबाङ्गो, गोलीगठ्ठा बोक्ने, घरपरिवारदेखि देशलाई बाहिरी आक्रमणदेखि बचाउने शक्तिशाली मान्छे । त्यस्तै संस्कृत शब्द वैश्यको अर्थ हुन्छ, व्यापारी । समाजमा जीविकाका लागि चाहिने वस्तु टाढा–टाढाबाट ल्याई उपलब्ध गराउने, पैँचो दिएर खाँचो टार्ने वैश्य भए । त्यस्तै शूद्रको अर्थ कुनै खास काममा शिल्प भएको मान्छे भन्ने जनाउँछ । दिएको या अह्राएको काम गर्ने, सेवामा सधैँ उपस्थित हुनेहरूलाई शूद्र पद दिइन्थ्यो । काम र गुणका आधारमा छुट्याइएका यस्ता पद उनीहरूको कर्मको आधारमा फेरबदल पनि हुन्थ्यो । यसरी विद्वान– ब्राह्मण, क्षतबाट बचाउने– क्षत्री, व्यापारी– वैश्य र छुट्टै सीप भएको– शूद्र, यी समाजका पदवी हुन्, जुन कालान्तरमा जन्मना–जातमा परिणत भएर अहिलेको यो अवस्थामा आइपुग्यो ।
को हो ब्राह्मण भन्नेबारे जोकोहीको मुखाग्र शास्त्रीय वचन छ– जन्मना जायते शूद्र कर्मणा द्विज उच्यते । जसको अर्थ हो— जन्मदाँ मान्छे शूद्र हुन्छ, कर्म या संस्कारले उसले आफ्नो स्थान तय गर्छ ।
वर्ण कसरी तय भयो भन्ने कुरा भागवत गीतामा भनिएको छ—
चातुर्वर्ण्यं मया सृष्टं गुणकर्म विभागशः ।
यसको अर्थ हो, गुण र कर्मको आधारमा मैले चार वर्ण सृष्टि गरेको हुँ । अब सोही गुण र कर्म नभएपछि
अर्थात् ब्राह्मणको कुलमा जन्मेर ब्रह्म बुझेन भने ऊ
ब्राह्मण रहँदैन ।
यता चाणक्यले भनेका छन्— जो मान्छे एक पटकको भोजनबाट सन्तुष्ट हुन्छ–छ, कर्ममा (यज्ञ गर्नु–गराउनु, पढ्नु–पढाउनु, दानमा पाएको खाने, आफूसँग केही नभएको, बाँकी दान दिने) लागिरहन्छ र आफ्नी स्त्रीसँग ऋतुकाल (मासिक धर्म) पछि मात्र संसर्ग गर्छ, उही नै सच्चा ब्राह्मण कहलाउँछ । देशको सुरक्षाका लागि तयार, देश, जनता र परिवारलाई क्षतबाट बचाउने क्षत्रीय हुन्छ । त्यस्तै जो मनुष्य पशुपालन, व्यापारी तथा खेती गर्छ र कमाउँछ ऊ वैश्य अर्थात् वणिक कहलाउँछ । साथै उनले तेल, नुन, फूल, मह, घिउ, मदिरा र मासु आदिको व्यापार गर्ने अन्य कुरामा चासो नदिने, अह्राएको काम गर्ने ब्राह्मण कुलमा जन्मे पनि शूद्र हुन्छन् भनेका छन् ।
व्यास स्मृतिमा भएको अर्को श्लोकमा भनिएको छ—
ब्रह्मजीवसमुत्पन्नो मन्त्रसंस्कारवर्जितः ।
जातिमात्रोपजीवी च भवेदब्राह्मणः स तु ।।
अर्थात् ब्राह्मणको कोखमा जन्मिएर पनि मन्त्र संस्कार नभएको र जातिले मात्र चिनिने अ–ब्राह्मण हुन्छ ।
महाभारतमा पनि ब्राह्मण सम्बन्धी यस्ता थुप्रै श्लोक छन् । वेदमा, गीतामा मात्र हैन, धम्मपद अनुसार कुनै
ब्राह्मण कहलिएको मान्छे आएर बुद्धलाई गाली गरेपछि बुद्धले भनेका छन्— यस्तो बोल्ने तिमी ब्राह्मण हुनै सक्दैनौ, तिमी त शूद्र हो । ब्राह्मण त त्यो हो, जो अग्लो ठाउँमा शान्तिसँग बस्छ, आफ्नो कर्तव्य गर्छ, उत्तेजनामा आउँदैन, दिउँसो सूर्य, रातमा चन्द्रजस्तै उच्च पदमा आसिन ब्राह्मण राजसी वस्तुले चम्कन्छ । जन्मँदा सबै शूद्र हुन्छन् । कर्मले तिम्रो स्थान तय हुनेछ (धम्मपद, २६ परिच्छेद) यसको मतलव भौतिक कुराबाट टाढै रहेको समदृष्टि राख्ने ज्ञानी मान्छे जोकोही ब्राह्मण हो ।
प्रा.डा. जगदीशचन्द्र रेग्मीले आफ्नो पुस्तकमा व्यास स्मृतिको श्लोक उल्लेख गर्दै लेख्नुभएको छ— जो मान्छे
ब्राह्मणको कोखमा जन्म लिएर उपनयन आदि गरेर पनि ब्राह्मणको कर्म जान्दैन र अध्ययन पनि गर्दैन, उसलाई नाममात्रको ब्राह्मण भनिन्छ । साथै तीन पुस्तासम्म वेद र यज्ञसँग सम्बन्ध टुटेको ब्राह्मण दुर्ब्राह्मण हुन्छ । (नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास पृष्ठ १११)
रजनीकान्त शास्त्रीले ‘हिन्दु जातिका उत्थान और पतन’ पुस्तकमा विलियम क्रुकको ‘ट्राइब्स एन्ड कास्ट’ (कुल अनि जात) र ‘द ब्राह्मण’मा उल्लेख भएको भन्दै सवालाखे
ब्राह्मणको सिलसिलेवार व्याख्या गरेका छन् । उत्तर प्रदेशका राजा मानिकचन्दले सवा लाख ब्राह्मणलाई यज्ञ गरेर खुवाउने प्रतिज्ञा गरे । तर आफूले कबुल गरेजति
ब्राह्मण नपुगेपछि अरु बोलाएका सबैलाई जनै लगाएर
ब्राह्मण बनाई यज्ञमा राखेर खुवाइएको थियो (हिन्दु जातिका उत्थान और पतन, पृ १२०) । यसले पनि समाजका सम्मानित व्यक्ति ब्राह्मण हुन्थे भन्ने स्पष्ट गरेको छ । पहिले–पहिले शूद्र ब्राह्मण भएका र ब्राह्मण शूद्र भएका उदाहरण हाम्रा पुराना पुस्तकमा प्रशस्त छन् । नाम चलेका प्रायः ऋषिहरू नै शूद्रबाट ब्राह्मण भएका कुरा वेद र उपनिषद्मा सुरक्षित छन् । हाम्रा ब्राह्मण अर्थात् ऋषिमुनीहरू जन्मिएको समयलाई एकपटक नियालौं है ।
बज्रसूचीमा जात के हो भन्ने बारेमा गरिएको
प्रश्नोत्तर छ ।
शिष्य सोध्छन्–
कि जात्या ब्राह्मणः ? अर्थात् के जातले ब्राह्मण हुन्छ ?
लामो उत्तर दिँदै गुरु भन्छन्— जातबाट ब्राह्मण हुन्थ्यो भने प्रायः सबै महर्षि (जो अहिले एक–एक गोत्रका ऋषिको नाम लिइन्छ) ती सबै अर्को जातिमा जन्म भएका थिए । कौशिक ऋषि जो कुशको गुच्छाबाट, गौतम ऋषि निगालोबाट, वाल्मीकि ऋषि धमिराको ढिस्कोबाट, अनुचर ढोईबाट, अगस्त्य घडाबाट, माण्डव्य माण्डुकीबाट, मातङ्ग मातंगीबाट, व्यास माझीकी छोरीबाट, पराशर ऋषि चण्डालबाट, वसिष्ठ वेश्याबाट, विश्वामित्र क्षत्रीबाट, भारद्वज शूद्रीबाट र नारद दासीबाट जन्मिएका हुन् ।
यी हरेकले जुनसुकै कुलमा जन्मिए पनि जन्मको
जातिविना नै उत्तम ज्ञान हासिल गरेका कारण
ब्राह्मणत्व प्राप्त गरेका थिए । त्यसैले ब्राह्मण जातले
हुने कुरा होइन भनेर गुरुले जवाफ दिएका छन् ।
अहिले समाजमा ब्राह्मणले अर्को जातकासँग विहेबारी गर्न हुँदैन भनिन्छ । हाम्रो प्राचीन सभ्यताका आधारमा यो सर्वथा गलत मान्यता हो । जात होइन, कर्मको पूजा हुने हाम्रो प्राचीन सभ्यता हो । मनुस्मृतिको एक श्लोकमा शूद्र अक्षमालाले वशिष्ठ ऋषिसँग, शृङ्गीले मन्दपालसँग विवाह गरेर पुज्यता पाएका छन् भनिएको छ । (मनुस्मृति ९।२३ )
अर्को उदाहरण महामुनी वशिष्ठ वेश्याको गर्भबाट जन्मिएका थिए । तर उनी तपस्या गरेर ध्यान र दानबाट ब्रह्म बुझेर ब्राह्मण अर्थात विद्वान् भए, ब्राह्मणत्व प्राप्त गरे । शुकदेव पनि शुकी नामकी अनार्य स्त्रीसँग व्यासको संसर्गबाट जन्मिएका हुन् । अरु त अरु शिवले पनि अनार्य कुलमा जन्मिएकी पार्वतीसँग नै बिहे गरे । अनार्य कन्या पार्वतीलाई हामी देवीको रूपमा पूजा गर्छौँ ।
हामीले अहिले गोत्रका माथिल्लो जरोको रूपमा पुज्ने अधिकांश ऋषिहरूको जन्म शूद्र भनिएका माझी, वेश्याबाट भएको थियो । हामीले अहिले ब्राह्मण भनेर पुज्ने भारद्वाजदेखि अनिरुद्ध, व्यास सबै ऋषिहरू कोही पनि
ब्राह्मण कुलमा जन्मिएका थिएनन् । जहाँ जन्मिए पनि ब्रह्म बुझेर या विद्वत्ता प्राप्त गरेर ब्राह्मण कहलिएका हुन् । हिजो स्वामी प्रपन्नचार्य र अहिले जगमान गुरुङ पनि कर्मका आधारमा ब्राह्मण नै हुन् । तर ब्राह्मणका कुलमा जन्मिएर पनि मादक पदार्थ खाने, भ्रष्टाचारी, बलात्कारी, समाज, राजनीति, सभ्यता आदि विषयमा एकपक्षीय र छूद्र टिप्पणीमात्र गर्ने र सबैजसो बेला मदिराको नशामा रहने शूद्र नै हुन् ।
थर कसरी रहेको थियो भनेर जान्दा पनि समाजमा कर्मका आधारमा जात तय थियो भनेर स्पष्ट हुन्छ । थर नै स्थानबाट बनेका छन् । स्थान अर्थात् स्थल या थल कुन हो भन्दाभन्दै थलको ल अपभ्रंश भएर थर भएको हो । यही थर पनि दुई प्रकारले बनेका छन् । एउटा ठाउँबाट र अर्को पदबाट । स्थलबाट बनेका थर हेरौं ।
पोखरी नजिक बस्ने पोखरियाल भए । तिनीहरू अहिले पोखरेल लेख्छन् । दुल्लु दैले भन्ने ठाउँकाहरू दुलाल, गमौडी भन्ने ठाउँका गौड्याल, भुर्तिकाहरू भुर्त्याल, लमजीकाहरू लम्ज्याल पछि गएर लम्साल त्यस्तै गरेर अधिकांश थर ठाउँले तय भएको कुरा योगी नरहरिनाथले लेख्नुभएको छ (नरहरिनाथ, हाम्रो देश–दर्शन पृष्ट ४६, २०३२) ।
त्यस्तै काम उपाधि या पदको आधारमा बनेका थर पनि छन् । जस्तो– तीनवटा वेद पाठ गर्न सक्ने भएर त्रिपाठी । पण्डित्याइँ गर्ने –पण्डित या पाँडे, राजाको गुरु– राजोपाध्याय । त्यस्तै चारै वेद जानेको चतुर्वेदी भयो । अर्को थर सुवेदी अर्थात राम्रोसँग वेद पढ्ने । त्यस्तै आचार्य, अहिले कुनै विषयमा विद्यावारिधि गरेको मान्छेलाई डाक्टर भनेजस्तै विषयको माथिल्लो अवस्थासम्म अध्ययन गरेकोले आचार्य पद पाउँथ्यो । यसरी तय भएको थियो, थर । तर त्यही आचार्यको मठ्ठुराम सन्तान कसरी आचार्य भन्ने प्रश्न अहिले उठ्न सक्दैन ? तीनवटा वेद पाठ गर्न सक्ने भएर बाबुले पाएको पद त्रिपाठी लिएर अहिले उनीहरूका जडिया सन्तान त्रिपाठी भन्ने ? भ्रष्टाचारी, बलात्कारी भए पनि, वेद पाठ गर्न नसके पनि अहिले ती सबैलाई त्रिपाठी भन्नुपरेको छ । किनभने जात र थरलाई हामीले जन्म र कुलका आधारमा बनाइसक्यौं । पहिले भए त्यस्तो हुँदैनथ्यो । वेद पढ्नसके त शूद्र पनि सुवेदी हुन्थ्यो । तर अहिले खै समाजमा त्यस्ता विद्वान सिपाही, व्यापारी, सीप भएका मान्छे छुट्टिएको ? अहिले हामीले भन्ने आचार्य, सुवेदी या त्रिवेदीका सन्तान एक प्रतिशत होलान्, तर अधिकांश सुवेदी छैनन् । त्यतिमात्र हैन, ब्राह्मणमा हुने गुण नभएका पनि ब्राह्मण होइनन्, तर ब्राह्मण भनिएर हिँडिरहेका छन् ।
जहिलेदेखि बाबुबाजेको पदलाई जात मानेर पक्रेर बस्ने चलन आयो, त्यसपछि समाज भाँडिएको छ । हामीले जात र थर कसरी रहन गयो सोचेनौँ । खासमा गोत्रबाट सम्बोधन गर्दा तल्लो र माथिल्लो जात भन्ने नै नामेट हुन्छ । अक्षमाला शूद्र हुन्छिन् । उनी पछि अरुन्धती नामबाट प्रख्यात भइन् । अक्षमाला र वशिष्ठ ऋषिबाट छोरा शक्ति जन्मन्छन् । उनको कुकुरको मासु खाने जातकी कन्यासँग उनको बिहे भयो । तिनीहरूबाट पराशर ऋषिको जन्म भयो । अनि पराशर ऋषि र माझीकी छोरी सत्यवतीको सहवासबाट व्यासको जन्म । अहिलेको जातको कुरा गर्ने हो भने भारतवर्षको दीपक मानिएका व्यास लगायत ऋषिहरू सबै शूद्र परिवारमा जन्मिएका शूद्र हुनुपर्ने हो । तर उनीहरू सबै हामीले पुज्ने समाजकै सबैभन्दा अग्ला ब्राह्मण भए । त्यसैले जातले होइन, कर्मले ब्राह्मण हुने हो । गुण र कर्मका आधारमा विकास भएको वर्ण व्यवस्था रहुन्जेल उत्कृष्ट रहेको हिन्दु समाज वृत्तिशंकार्य अर्थात् काम बाँडफाँडको आधार टुटेर जन्मना जातिमा वर्ण व्यवस्था परिणत भएपछि हिन्दु समाजमा फाटो आएको स्पष्ट देखिन्छ ।
हवल्दारको छोरो हवल्दार या सीडीओको सन्तान सीडीओ नभए जस्तै सुवेदीको छोरो या छोरी सुवेदी नै हुन्छन् भन्ने हुँदैन । हिजो ब्रह्म बुझेकाहरूले पाएको पद ब्राह्मण तर आज भ्रष्ट आचार भएकाहरू पनि ब्राह्मण भइरहन सक्दैनन् । हिजो गुण र कर्मको आधारमा राखेका थरमा पुनःव्याख्या कहिले ? हाम्रा सभ्यताका पण्डितहरूले आचार्य, पोखरेल, पौडेल हुँदैमा ब्राह्मण भइन्छ भन्ने भ्रम चिर्ने बेला भएन र ?
गोत्र एउटा समाज जातका आधारमा नभई कर्मका आधारमा समाज विभाजन थियो भन्ने अर्को उदाहरण हो । कौशिक गोत्रमा रेग्मी, गौडेल, खपतरी, रसाइली, लामिछाने, ढुङ्गाना, धिताल, फुयाल, तिवारी, माझी, रघुवंशी, भण्डारी, बस्ताकोटी आदिजस्ता सबै जातका थर पर्छन् । यसरी एक गोत्रको आधारमा एकसाथ रहने हो भने पनि समाज रहेको विभाजन हटेर जानेछ ।
समाजमा विभेद हाम्रा सभ्यताका कारण नभएर ती सभ्यतालाई आफू अनुकूल बनाएर तोडमोड गरेर पस्कनेहरूका कारण भएको छ । हरेक धर्मका नामका सभ्यताहरूलाई हामीतिर तान्ने हाम्रा सभ्यताको जरोमा के थियो भन्ने जानकारी दिनुको सट्टा ब्राह्मण भन्नेहरू आफू अनुकूल बनाएर चुपचाप बसिरहे । अर्काथरी जानेर वा नजानेर हाम्रो सभ्यतालाई गलत अर्थ दिन लागिरहे । एकको मौनता र अर्काको उद्दण्डताले बनेको धाँजामा
हम्बर बजारेर बाहिरियाहरू भने ताली पिट्दै रमाइलो मानी–मानी नाचिरहेछ । जुन हिजो पनि गलत थियो, आज पनि गलत हुँदैछ ।
पुराना र नयाँ शास्त्रका वचन र सामाजिक परिवेश अध्ययनपछि एकातिर सबै सम्मै हुन् भन्ने र अर्कोतिर जन्मदै ब्राह्मण हौं भन्ने दुई कट्टरपन्थीहरूको बीचमा उभिएर भन्दा मागेर पाइने या जन्मसिद्ध प्राप्त गर्न सकिने दुबै चिज होइन ब्राह्मण । सार्की बाले भनेझैं ज्ञानले ओतप्रोत, फाटेको समाजलाई जोड्ने, सबैलाई प्रेमले झुकाउन सक्ने सर्वमान्य व्यक्ति हो– ब्राह्मण ।

विविधा

अमेरिका–इरान कलह र चीन

- विज्ञानबाबु रेग्मी

अमेरिका र इरानको युद्ध भयो भने कसले जित्छ ? चिनियाँ रणनीतिमा दख्खल राख्ने विश्लेषक नथान लेभिन भन्छन्, ‘चीनले’ । यो विचार बोक्ने लेभिन एक्लो हैनन्, सिकागोदेखि हार्वर्डसम्मका धेरै मूर्धन्य व्यक्तिबाट पनि यस्तै तर्क सुनिन्छ । पेन्टागन र क्यापिटल हिलका बाठाटाठाहरूले त कुन्नि, तर बेइजिङले भने यो भाव प्रस्ट बुझेको छ ।
अमेरिकी हवाई आक्रमणमा परी इरानी जनरल कासिम सुलेमानीको मृत्यु भएपछि इरान–अमेरिका कलहले उग्ररूप लिने पक्काजस्तो देखियो । इरानले सुलेमानीको सहादतलाई ठूलो क्षतिको रूपमा लियो र बदला लिने अभिव्यक्ति दियो भने अमेरिकाले यस घटनालाई आफ्नो विजय मान्यो र इरानले टक्कर लिन खोजे आफू पछि नहट्ने सन्देश दियो । लगत्तै अन्तर्राष्ट्रिय सञ्जालमा अन्य शक्तिराष्ट्रहरूको बलमा युद्ध चर्किने पो हो कि भन्ने भय सिर्जना भयो । वाशिङटन विरुद्धको साझेदारीमा तेहरान, मस्को र बेइजिङ झन् एकबद्ध रहने र युद्धले उग्ररूप लिनसक्ने विश्लेषणहरू बाहिर आए । तर, सोचेभन्दा निकै नम्र तरिकामा परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ शुआङमार्फत चीनले ‘राष्ट्रसंघको बडापत्रले परिकल्पना गरेको अन्तर्राष्ट्रिय सम्बन्धका मूल्य–मान्यतालाई आत्मसात् गर्दै सबै राष्ट्रहरू सतर्कताका साथ आफ्नो अधिकारको प्रयोग गर्न तथा थप कलहको बाटोमा नलाग्न’ आग्रह गर्‍यो ।
चीनको परिपक्व वक्तव्यले उही पुरानै तेङ सियायोपिङको वैदेशिक नीति ‘हाइड योर स्ट्रेन्थ, बाइड योर टाइम’ को झल्को दियो । विश्व आर्थिक महाशक्ति बन्ने महत्त्वाकांक्षा र भीमकाय सैनिक क्षमता बोकेर बसेको चीनले तेङपथ छोडिसकेको तर्क पनि गरिन्छ । तर मध्यपूर्वको कलहमा चीनको मौनताले उसको चातुर्य र संयमलाई अझ अर्थपूर्ण तरिकाले विश्लेषण गर्ने मौका दिएको छ । मध्यपूर्वमा अमेरिका होमिन जाँदा चीनले कुनै एउटा राष्ट्रको बलियो पक्ष लिन चाहँदैन । अमेरिकी लेखक तथा चीन–अमेरिका सम्बन्धका ज्ञाता इभन ओस्नोसले भनेझैं वास्तवमा चीनले अमेरिकाको प्रत्यक्ष संलग्नता रहेको युद्ध सजिलै अन्त्य होस् भन्ने चाहँदैन । अफगानिस्तानमा वा इराकमा झैं अर्को मुलुकसँग अमेरिका पुनः द्वन्द्वमा फँस्नु भनेको चीनका लागि आर्थिक एवं कूटनीतिक हिसाबले फाइदाको विषय हो । इराक युद्धमा अमेरिकाले करिब १ ट्रिलियन डलर खर्च गर्‍यो, जुन चीनको सन् २००० तिरको कुल गार्हस्थ्य उत्पादन बराबर हो । उक्त युद्धमा जानु अघि अमेरिकाको कुल गार्हस्थ्य उत्पादन चीनको भन्दा ८ गुना अर्थात् ८०० प्रतिशतले बढी थियो भने युद्धपछि सन् २०१४ मा जम्मा ५० प्रतिशतले मात्र बढी थियो । अमेरिका युद्धको दलदलमा फँसेको दशकमा चीनले भने आफ्नो आर्थिक विकासलाई प्राथमिकतामा राखेर ठूलो छलाङ मार्ने अवसर पायो । अहिले फेरि बेल्ट एन्ड रोडजस्तो बृहत योजना अघि सार्दै २१ औँ शताब्दीको इतिहास आफ्नो कलमले लेख्ने अठोट राखेको बेला २० औँ शताब्दीको मालिक बनेर बसेको अमेरिकाको ध्यान युद्धतर्फ केन्द्रित भए चीनलाई राष्ट्रपति सीले इंगित गरेको ‘वान्स इन अ सेन्चुरी’ अवसर प्राप्त हुने सम्भावना बढ्छ ।
अमेरिका युद्धमा जाँदा चीनका लागि कूटनीतिक जित पनि हासिल गर्ने सम्भावना बढ्छ । २०१५ यता मध्यपूर्वमा चीनको रुचि
ह्वात्तै बढेको छ । २०१६ मा साउदी अरब र इरानको वैमनश्य चुलिएकै बेला सीले इजिप्ट र यी दुई मुलुकको भ्रमण गरे । उक्त भ्रमणमा इजिप्टसँग पाँचवर्षे आर्थिक साझेदारीको सहमति भयो भने साउदी अरब र इरान दुबैसँग बृहत रणनीतिक साझेदारी गर्नेबारे छलफल भयो । भ्रमण निकै सन्तुलित भयो । उता काइरो, रियाध, र तेहरान खुसी भयो, यता बेइजिङले आफ्नो कूटनीति एक तह माथि पुगेको महसुस गर्‍यो । विशेषगरी अमेरिकाले झैँ साउदी अरब र इरानमध्ये एउटा रोज्ने पक्षमा चीन छैन । २०१८ मा उक्त क्षेत्रको दोस्रो भ्रमणमा पनि सीले ‘पार्टनरसिप्स, नट अलायन्सेस’ भन्ने सशक्त सन्देश दिएर आएका थिए । यदि अमेरिका आफ्नो ‘हेजेमोनी’ फैलाउँदै मध्यपूर्वमा युद्धमा गयो भने आफू तटस्थ बसी झन् सामरिक र सन्तुलित कूटनीति अपनाउन सकिन्छ भन्ने बेइजिङको बुझाइ छ ।
मेरिकी लेखका रोबर्ट काप्लानले इरान–अमेरिका कलहलाई उद्धृत गर्दै न्युयोर्क टाइम्समा लेखेका छन्, ‘इट्स नट अबाउट इरान, इट्स अबाउट चाइना’ । यस भनाइले वर्तमान युद्धको अर्को पाटो उजागर गर्छ— इरानमा द्वन्द्व र अस्थिरता वर्षौँसम्म कायम भैरह्यो भने चीनलाई पनि बेफाइदा पक्कै छ ।
सन् २००० को पूर्वार्द्धमै जर्मनीलाई उछिन्दै चीन इरानको प्रमुख व्यापारिक साझेदार बन्यो । इरानले चीनबाट गर्ने आयात २००० देखि २००५ मा ३६० प्रतिशत ले बढ्यो । त्यस्तै चीन इरानी तेलको सबैभन्दा ठूलो उपभोक्ता बन्यो । अमेरिका र युरोपेली संगठनले इरानमाथि नाकाबन्दी लगाउँदै जाँदा इरानबाट पश्चिमा लगानी पनि पलायन हुँदै गयो । तर यसले चीनलाई इरानमा आफ्नो उपस्थिति बलियो बनाउने अवसर दियो । २००१ मा ६५ सदस्यबाट सुरु भएको इरान–चीन उद्योग वाणिज्य संघमा २०१६ सम्म आइपुग्दा ६ हजार व्यापारिक संस्थाले सदस्यता लिइसकेका थिए । २०१६ मा इरानी विदेशमन्त्री मोहम्मद जाबेद जरिफको बेइजिङ भ्रमणमा यी दुई राष्ट्रले आगामी १० वर्षमा द्विपक्षीय व्यापारलाई ६०० बिलियन डलरको हाराहारीमा पुर्‍याउने सम्झौता गरे । यो रकम हाल इरानको कुल गार्हस्थ उत्पादनभन्दा ३० प्रतिशत बढी हो । यस्ता बृहत व्यापारिक कदममार्फत इरानमा आफ्नो आर्थिक बर्चस्व अघि बढाउने योजना बनाएको चीनलाई इरान सधैँ अस्थिर रहनु पक्कै सुखदायी हुने छैन । यसकारण पनि जसरी चीन अमेरिका युद्धमा फँसेको हेर्न चाहन्छ, अमेरिका त्यसरी नै इरान अस्थिर बनाइराख्न चाहन्छ ।
चीनका लागि इरान द्विपक्षीय व्यापारका हिसाबले मात्र महत्त्वपूर्ण होइन । इरानको भौगोलिक अवस्थितिले गर्दा चीनको फ्ल्याग्सिप प्रोजेक्ट बेल्ट एन्ड रोडलाई मूर्तरूप दिन इरानको भूराजनीतिक महत्त्व अझ बढी छ । दोस्रोदेखि सातौँ शताब्दीसम्म हान वंश र टान वंशको पालामा भएको तत्कालीन पर्जिया (हाल इरान) र चिनियाँ राजधानी चाङ्गान (हाल शियान नजिक) को अन्योन्याश्रित सम्बन्ध पुरानो रेशमी मार्गको विकासको एउटा मुख्य कारक थियो । त्यही रेशमी मार्गको स्वर्णिम विरासतमा टेकेर बीआरआईको अवधारणा बोकेको चीनलाई आधुनिक दिनमा तेहरान र बेइजिङको सम्बन्ध पुनर्जागरण गर्नु अपरिहार्य छ । यस मानेमा, यदि जुबटी र इथियोपिया चीनको अफ्रिकालाई हेर्ने आँखीझ्याल हो भने, इरान चीनको मध्यपूर्व र युरोप प्रवेश गर्ने मुख्यद्वार हो । यही भूराजनीतिक महत्तालाई मूल्यांकन गर्दै निर्मित उत्तरी चिनियाँ सहर ब्यान्नुरदेखि तेहरानसम्मको फ्राइट रेल २०१८ मै सुचारु भैसक्यो भने चीन तत्काल थप १० बिलियन डलर सिनो–इरान रेल विकासमा लगानी गर्न तत्पर छ । पश्चिमा ज्यादतीको निरन्तर सिकार भएमा इरानले चीनको शरण खोज्नेछ र त्यसले चीनलाई आफ्नो अर्थ–रणनीतिक हितको पक्षपाती योजना इरानमा लाद्न अझ सहज हुन्छ भन्ने पनि बेइजिङको बुझाइ छ ।
सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीन भ्रमण गर्दै अघि सारेको ‘चाइना इन्गेजमेन्ट’ नीति उनी पछिका ७ राष्ट्रपतिले पनि अवलम्बन गरे । ट्रम्पले भने, उक्त कम्पासलाई विपरीत दिशामा घुमाउँदै ‘चाइना अनकप्लिङ’ को नीति सुरुवात गरे । यस बखतमा चीनले विश्वसँगको आफ्नो अन्तरक्रिया नियोजित र संयमित बनाउन सक्यो भने उसको २१ औँ शताब्दीको इतिहास लेख्ने अभिलाषाले द्रुतमार्ग पाउन सक्ने निश्चित छ । तर निक्सनलाई चीन पुर्‍याउने प्रमुख सूत्रधार तथा निवर्तमान अमेरिकी गृहमन्त्री हेनरी किसिन्जरले भनेझैँ यदि चीन र अमेरिकाले एकअर्कालाई स्थायी दुश्मनका रूपमा लिने प्रवृत्ति सिर्जना भयो भने विश्व विकासले ब्यहोर्नुपर्ने क्षति अपरिकल्पनीय हुनसक्छ । कम्तीमा चीनले युद्धका मामलामा उही पुरानै ‘हाइड योर स्ट्रेन्थ, बाइड योर टाइम’ सिद्धान्तलाई शिरोपर गर्दै गए भयंकर विनाशको गुञ्जायस नरहला ।

 

Page 8
स्वास्थ्य

कोरोनाविरुद्ध एन्टिबायोटिकले काम गर्दैन

- अतुल मिश्र

छिमेकी मुलुक चीनबाट सुरु भएर विश्वव्यापी भएको निमोनिया उत्पन्न गराउने ‘नोवल कोरोना भाइरस’ संक्रमणको प्रकोप र जोखिम दिनदिनै बढ्दो छ । निमोनियालगायत श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने भाइरसका कारण विश्वभर आतंक सिर्जना भएको छ ।
विश्वका दुई दर्जनभन्दा बढी देशमा पुगिसकेको भाइरस संक्रमण रोक्न विश्वव्यापी रणनीति आवश्यक छ । ठोस भ्याक्सिन वा औषधि पत्ता लागिनसकेको भाइरस संक्रमण रोक्ने एउटै उपाय, संक्रमित व्यक्ति र स्वस्थ व्यक्तिबीचमा सम्पर्क हुन नदिनु हो । नेपालमा हालसम्म चीनबाट फर्किएका एक विद्यार्थीमा मात्र भाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि प्रकाशमा नआएका अन्य संक्रमित पनि हुन सक्ने विज्ञले चेतावनी दिइरहेका छन् ।
‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित एउटा रिपोर्टअनुसार नोवल कोरोना भाइरस संक्रमणका लक्षण नदेखिएका व्यक्ति पनि संक्रमित हुन सक्छन् र अन्य व्यक्तिमा फैलाउन सक्छन् । उक्त अनुसन्धानअनुसार भाइरस पीडित नदेखिने व्यक्तिबाट पनि संक्रमण फैलने खतरा हुन्छ ।
‘एक संक्रमितलाई उचित व्यवस्थापन नगरिए त्यसबाट सयौं हुँदै हजारौं र संक्रमणको एउटा अन्तहीन शृंखला नै निर्माण हुन्छ,’ वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा.रमेश चोखानी बताउँछन्, ‘यही कारणले पश्चिमा राष्ट्रले चीनबाट फर्किएका वा बिरामीको सम्पर्कमा रहेकालाई अनिवार्य रूपमा दुई साता क्वारेनटाइनमा राख्ने प्रक्रिया सुरु गरेका हुन् ।’ कोरोना भाइरस संक्रमणका कारण दुई दिनमै जटिल अवस्थामा आउन सक्ने र त्यसले ज्यानसमेत जान सक्ने भएकाले प्रभावकारी खोप र उपचार विधि पत्ता नलागेसम्म रोकथामको माध्यम अपनाउनु नै बुद्घिमानी हुने उनी सुझाउँछन् ।
शंकास्पद व्यक्तिलाई ‘आइसोलेसन’ मा राखेर स्वास्थ्यकर्मीले उपयुक्त सुरक्षाका उपाय र उपकरण लगाएर उपचार गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।
आइसोलेसन (पृथकीकरण) र क्वारेन्टाइन संक्रामक रोगको प्रसार र विस्तार कम गर्न जनस्वास्थ्यअन्तर्गत अपनाइने एउटा प्रक्रिया हो । आइसोलेसनअन्तर्गत केही खास रोगको प्रसार र विस्तार कम गर्न संक्रमित व्यक्तिलाई स्वस्थ व्यक्तिको सम्पर्कभन्दा अलग राखेर सुरक्षा उपकरणले सुसज्जित विशेषज्ञबाट उपचार गरिन्छ ।
क्वारेन्टाइनअन्तर्गत सर्ने रोगको सम्पर्कमा आएका स्वस्थ व्यक्तिलाई छुट्टै राखेर अन्य स्वस्थ व्यक्तिसँग हिमचिम हुन दिइँदैन । त्यस्ता व्यक्तिमा संक्रमण फैलिएको वा नफैलिएकोबारे हेरिन्छ ।
करिब ५ हजारभन्दा बढी नेपाली चीनमा अध्ययनरत छन् । विद्यार्थीबाहेक व्यापार, रोजगारीलगायत क्षेत्रमा त्यहाँ रहने नेपालीको यकिन तथ्यांक छैन । नेपाल आउने चिनियाँ पर्यटकको संख्या ठूलो छ । बर्सेनि डेढ लाखभन्दा बढी चिनियाँ पर्यटक नेपाल आउने गरेका छन् । ‘हाल चीनलगायत संक्रमण देखिएका ठाउँबाट आउने जोकोही घरमै बसे पनि दुई सातासम्म क्वारेन्टाइनमा बसेजस्तै अलग्गै बस्नु उपयुक्त हुन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, टेकुका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले बताए ।
चीनबाट फर्किएर घरमा रहँदासमेत एउटा छुट्टै राम्रो भेन्टिलेसन भएको कोठामा मास्क लगाएर परिवारका अन्य सदस्यको प्रत्यक्ष सम्पर्कमा नरहने गरी दुई सातासम्म छुट्टै बस्नुपर्ने आवश्यकतामा उनी जोड दिन्छन् । त्यसरी बस्दासमेत बारम्बार साबुनपानीले हात धुनेलगायतका स्वच्छताका सबै उपाय अवलम्बन गर्नु उपयुक्त हुने उनी सुझाउँछन् । देश फर्किर्एको दुई साताभित्र रुघाखोकी, ज्वरो आदि देखिए तुरुन्तै टेकुलगायतका सुविधासम्पन्न अस्पतालमा आफ्नो यात्रा इतिहास खुलाउँदै चिकित्सकीय सल्लाह लिनुपर्ने आवश्यकता रहेको डा.पाण्डेले औंल्याउँछन् ।
विमानस्थललगायतका क्षेत्रमा ज्वरो, रुघाखोकीका बिरामीको ‘स्क्रिनिङ’ गर्ने प्रक्रियामा थप कडाइ हुनुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर कन्सलटेन्ट चेस्ट फिजिसियन डा. नवीनप्रकाश शाह भन्छन्, ‘चीनजस्तो हामी १० दिनमा हजार शय्याको अस्पताल बनाउन सक्दैनौं । त्यसैले संक्रमण भित्रिन नदिनु नै उच्चतम विकल्प हो । यदि संक्रमण पाइए क्वारेनटाइन र आइसोलेसनजस्ता प्रक्रियाबाट अन्य व्यक्तिमा फैलनबाट रोक्ने नै हाम्रो रणनीति हुनुपर्छ ।’
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हालसम्म एक जनामा मात्र नोवल कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । गत माघ ९ गते एक शंकास्पद व्यक्तिको रगत र र्‍यालको नमुना जाँच गर्दा नोवल कोराना भाइरस पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य १७ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिँदा अन्यमा संक्रमण नपाइएको उसको भनाइ छ ।
स्वास्थ्य आपत्कालीन कार्य सम्पादन केन्द्रका प्रमुख सागर दाहालका अनुसार परीक्षणमा पोजेटिभ देखिएका व्यक्तिसमेत हाल स्वस्थ भइसकेका छन् । डा. पाण्डेका अनुसार, हालसम्म कोरोना भाइरसले हुने मृत्यु दरलाई विश्लेषण गर्दा ८० प्रतिशतभन्दा बढी मृत्यु पाका उमेर भएका व्यक्तिको भएको देखिन्छ ।

चीनबाट आउनेले संक्रमण फैलाउन सक्छन् ?
आफूखुसी चीनलगायत संक्रमण देखिएका ठाउँबाट फर्किएका नेपाली र अन्य मुलुकका नागरिकबाट नेपालमा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको विशेषज्ञले औंल्याएका छन् । चीनबाट सरकारले ल्याउने भनिएका १ सय ८० जना नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने सरकारी तयारी भइरहेको छ । तयारी चलिरहँदा पनि विमानस्थल हुँदै नेपाल आउने नेपाली र विदेशीको संख्या उत्तिकै छ । यसर्थ अहिले पनि भाइरस संक्रमण हुन सक्ने उनीहरूले चेतावनी दिएका छन् । उनीहरूले चीनबाट फर्काइने तयारीमा रहेका विद्यार्थीलाई मध्यनजर गरेर मात्रै नभई अहिलेबाटै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
‘सरकारले हाल चीनलगायतका संक्रमण देखिएका देशबाट फर्किएका सबैलाई क्वारेनटाइनमा राखेर संक्रमण नभएको सुनिश्चित गरेपछि मात्र परिवार वा समाजमा घुलमिल गर्न दिनुपर्छ,’ डा. चोखानी भन्छन्, ‘जनस्वास्थ्यअन्तर्गत सम्भावित संक्रमणलाई रोक्ने हालसम्म यो नै सबैभन्दा महत्त्वपूर्ण र भरपर्दो उपाय हो ।’
टेकु अस्पतालका भाइरोलजिस्ट डा. पाण्डेसमेत चीनलगायत संक्रमण देखिएका मुलुकबाट फर्कनेले दुई सातासम्म आफ्नो परिवारका सदस्यसँग समेत प्रत्यक्ष सम्पर्कमा नरहने गरी घरमै क्वारेन्टाइनमा जस्तै गरी बस्नु उपयुक्त हुने बताए ।

लक्षण
नोवल कोरोना भाइरसबाट संक्रमितलाई मध्यमदेखि कडा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ । जसअन्तर्गत ज्वरो, खोकी, सास फेर्न असजिलोलगायतका लक्षण देखिन्छ । सयमध्ये २० संक्रमितमा कडा रूप देखिने र दुई जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), हेल्थ इमर्जेन्सीका कार्यकारी निर्देशक डा.माइकल रायनले यसै साता गरेको भर्चुअल पत्रकार सम्मेलनमा बताए ।

कसरी सर्छ ?
नोवल कोरोना भाइरस मौसमी रुघाखोकीजस्तै संक्रमित एक व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा श्वासप्रश्वासको माध्यमले फैलन्छ । मुख्य रूपले श्वासप्रश्वाससम्बन्धी रोग हुने व्यक्तिका साथै मुखबाट निस्किने पानीका स–साना कणका माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिरहेको डब्लूएचओ, हेल्थ इमर्जेन्सीका कार्यकारी निर्देशक डा.. माइकल रायन बताउँछन् ।
‘हामीले यो संक्रमण श्वासप्रश्वासका माध्यमबाट प्रसारित भइरहेको पाएका छौं,’ डब्लूएचओ इमर्जेन्सी डिजिज एन्ड जुनोसिसका प्रमुख डा. मारिया वैन केरखोव भन्छिन्, ‘यसैले मुखबाट निस्किने पानीको स–साना थोपा र व्यक्ति–व्यक्तिबीचको प्रत्यक्ष सम्पर्कबाट भाइरस संक्रमण फैलिरहेको छ ।’
खोक्दा, हाच्छिउँ गर्दा निस्किने पानीको स–साना थोपाले भाइरस बोक्छ । डा. केरखोवका अनुसार पानीको थोपाको माध्यमले विभिन्न सतहमा टाँस्सिएका भाइरस केही समयसम्म जीवित रहने हुँदा त्यस्ता सतहलाई छुँदा पनि संक्रमण हुन सक्छ । यद्यपि नोवल कोरोना भाइरस कति समयसम्म सतहमा जीवित रहन सक्छ भन्नेबारे यकिन भने भइसकेको छैन । प्रारम्भिक जानकारीअनुसार भने यो भाइरस खुला सतहमा केही घण्टा मात्रै बाँच्न सक्छ । तर सामान्य संक्रमण मुक्त गर्ने रसायनले सतहमा भएको यो भाइरसलाई मार्न सक्छ ।

कसरी बाँच्ने ?
रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी रोगबाट बच्नका लागि अपनाइने उपाय नै नोवल कोरोना भाइरसको संक्रमण हुन नदिन प्रभावकारी छ । संक्रमित व्यक्तिसँग दूरी राख्ने, श्वासप्रश्वास र हातसम्बन्धी स्वच्छताको नियम अपनाउनुलगायतका बचाउका उपाय फाइदाजनक हुने डा. रायन बताउँछन् । यस भाइरसबाट बच्न हालसम्म कुनै पनि औषधि र उपचार विधि पत्ता नलागेकाले सचेत हुनु नै सबैभन्दा उच्चतम उपाय हो ।
ज्वरो आएका, खोक्ने र हाच्छिउँ गरिरहेका मानिससँग एक मिटरको दूरी कायम गर्नु फाइदाजनक हुन्छ । सम्भावित संक्रमण हुन सक्ने व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा निस्किने पानीका स–साना कणमा भाइरस हुने हुँदा बढी नजिक हुनु भनेको संक्रमण फैलने जोखिम बढाउनु हो । सामान्य व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा हातले मुख छोप्नुको सट्टा कुहिनो वा टिस्यु पेपर उपयोग गरेर त्यसलाई उचित रूपमा नष्ट गर्नुपर्छ ।
हामीमध्ये धेरैजसोले रुघाखोकी हुँदाताका खोक्दा, हाच्छिउँ गर्दा रुमाल प्रयोग गर्ने र निरन्तर त्यसलाई खल्तीमा राख्ने गरेका छौं । यसले गर्दा रुघाखोकीलगायतका संक्रमण झन् फैलने ओल्याउँदै डा.चोखानी भन्छन्, ‘यस्तो समय टिस्यु पेपरको उपयोग गर्नुहोस् र बारम्बार साबुनपानी वा स्यानिटाइजरले हात धुनुहोस् ।’ बारम्बार साबुनपानीले हात धुँदा कथंकदाचित कुनै प्रक्रियाद्वारा हातमा टाँस्सिएको भाइरस हटाउन प्रभावकारी हुन्छ ।

कति दिनसम्ममा लक्षण देखिन सक्छ ?
नोवल कोरोना भाइरसको संक्रमण भएपछि शरीरमा लक्षण देखिने समयबारे अध्ययन जारी छ । हालसम्म डब्लूएचओले गरेको आँकलनअनुसार संक्रमणको इन्क्युवेसन पिरियड (भाइरस शरीरमा प्रवेश गरेपछि लक्षण देखिने समय) एकदेखि १२.५ दिन हो । औसत अनुमान ५–६ दिनसमेत गरिएको छ । थप तथ्यांक आएपछि यो समयबारे झन् सटिक रूपले भन्न सकिन्छ । मर्स र सार्सजस्तै नोवल कोरोना भाइरसको इन्क्युवेसन पिरियड १४ दिनसम्म हुन सक्छ ।

घरपालुवाबाट भाइरस सरेको छैन
विशेषज्ञका अनुसार कुकुर, बिरालो, गिनीपिग, खरायो, चरालगायतका घरपालुवा जनावरबाट नोवेल कोराना भाइरस सरेको हालसम्म कुनै प्रमाण भेटिएको छैन । ‘कुकुरलगायतका घरपालुवा जनावरबाट भाइरस सर्ने हो कि भनेर आत्तिएर कैयौंले सोध्ने गरेका छन्,’ एड्भान्स पेट हस्पिटल एन्ड रिसर्च सेन्टरका पशुचिकित्सक डा. शरदसिंह यादव बताउँछन् । उनका अनुसार घरपालुवा जनावरबाट कोरोना भाइरस मानिसमा सर्न सक्ने अफबाहले गर्दा हाल यस्ता जीवजन्तु मर्कामा परेका छन् । घरपालुवा जनावरका कारण नोवल कोराना भाइरस संक्रमण हुन सक्ने हालसम्म कुनै प्रमाण नभेटिएको डब्लूएचओले पनि उल्लेख गरेको छ । यद्यपि घरपालुवा जनावर छोइएसकेपछि साबुनपानीले हात धुनु आवश्यक रहेकोमा उसले जोड दिएको छ । यसले ई–कोली, साल्मोनेला आदि सामान्य ब्याक्टेरियाको संक्रमण हुन दिँदैन ।

निमोनियाविरुद्धको खोपले रोकिन्न
गत वर्षको अन्त्यतिर चीनमा देखिएको नोवल कोरोना भाइरसविरुद्ध हालसम्म कुनै खोप निर्माण भएको छैन । डब्लूएचओका अनुसार निमोनियाविरुद्घको खोप जस्तै ‘निमोकोक्कल भ्याक्सिन’ र ‘हेमोफिलस इन्फलुएन्जा टाइप बी (एचआईबी)’ खोपले कोरोना भाइरसविरुद्घ प्रतिरोधक क्षमता दिँदैन । भाइरसमा प्रभावकारी हुन सक्ने खोप निर्मार्णमा अनुसन्धानकर्ता प्रयासरत छन् ।

लसुन कत्तिको फाइदाजनक छ ?
परापूर्वकालदेखि नै नेपाललगायतका मुलुकमा खाद्यपदार्थ मात्र नभई औषधिको रूपमा समेत उपयोग गरिँदै आइएको छ । स्वस्थकर खाद्यपदार्थ लसुनमा केही ब्याक्टेरियाविरुद्घ लड्न सक्ने गुण हुन्छ । तर डब्लूएचओका अनुसार लसुन सेवन कोरोना भाइरसविरुद्ध उपलब्धिमूलक हुने देखिएको छैन ।

बूढापाकालाई मात्रै प्रभावित गर्छ ?
डब्लूएचओका अनुसार नोवल कोरोना भाइरसले सबै उमेर समूहका व्यक्तिलाई प्रभावित गर्छ । यसैले सबै उमेर समूहका व्यक्तिले भाइरस संक्रमणबाट जोगिने उपाय अवलम्बन गर्नुपर्छ । यद्यपि पाका उमेरका र पहिलेदेखि नै दम, मधुमेह, मुटु रोग लगायतका विभिन्न स्वास्थ्य समस्या भएकामा यसले चाँडै प्रभाव पार्न सक्छ ।

एन्टिबायोटिक प्रभावकारी छ ?
एन्टिबायोटिकले ब्याक्टेरियाविरुद्घ काम गर्छ । भाइरसविरुद्घ यसले काम गर्दैन । तसर्थ नोवल कोरोना भाइरसबाट बच्न वा उपचारका लागि एन्टिबायोटिक उपयोग गर्नु हुँदैन । तर भाइरस संक्रमणले गर्दा अस्पतालमा भर्ना भएको अवस्थामा चिकित्सकले एन्टिबायोटिक प्रस्ताव गर्न सक्छन् ।

कुनै औषधि छ ?
नोवेल कोरोना भाइरसको हालसम्म खास औषधि पत्ता लागेको छैन । हाल संक्रमितमा देखिएको लक्षणका आधारमा उपचार गरिन्छ ।
डब्लूएचओका अनुसार केही खास उपचार विधिबारे खोजी भइरहेको छ र यसलाई क्लिनिकल ट्रायलको माध्यमले परीक्षण गरिनेछ ।

मास्कले जोगाउँछ ?
चिकित्सकीय मास्कले श्वासप्रश्वाससम्बन्धी केही रोग फैलन नदिने भए पनि मास्क लगाउनाले मात्रै कोरोना भाइरस संक्रमणबाट बच्न सक्ने ग्यारेन्टी हुँदैन । मास्क लगाउनुका साथै, नियमित साबुनपानीले हात धुनु, श्वासप्रश्वाससम्बन्धी स्वच्छता अपनाउनु, शंकास्पद व्यक्तिसँग न्यूनतम एक मिटर टाढा बस्नुलगायतका प्रक्रियाले केहि हदसम्म कोरोना संक्रमणबाट बच्न सकिन्छ ।

स्वास्थ्य

मस्तिष्कका लागि योग

- कान्तिपुर संवाददाता

 

यदि तपाईं कुनै कारणले शारीरिक (एरोबिक) व्यायाम गर्न सक्नुहुन्न भने आफ्नो मस्तिष्कको स्वास्थ्यमा सुधार गर्न योग गर्न सक्नुहुन्छ ।
हालै गरिएको एउटा अध्ययनअनुसार योग मस्तिष्कको त्यही खण्ड र कार्यलाई फाइदा पुर्‍याउँछ, जो शारीरिक व्यायामभन्दा राम्रो हुन्छ । यो अध्ययन ब्रेन प्लास्टिसिटी जर्नलमा प्रकाशित छ । अनुसन्धान योग र मस्तिष्कको स्वास्थ्यमा आधारित ११ अध्ययनमा आधारित छ ।
अध्ययनमा योग गर्नेहरूमा ‘हिप्पोक्याम्पस’ को आयातनमा वृद्घि देखियो । यस्तै वृद्घि थुप्रै अध्ययनमा शारीरिक व्यायाम गर्नेहरूमा देखिएको छ । हिप्पोक्याम्पस स्मरणशक्तिको प्रशोधन (प्रोसेसिङ) मा सम्मिलित हुन्छ र उमेरसँगै खुम्चिन्छ । अध्ययनअनुसार डिमेन्सिया र अल्झाइमरमा यही खण्ड सबैभन्दा पहिले प्रभावित हुन्छ ।

 

स्वास्थ्य

पाचन प्रक्रियामा उपयोगी मुला

- कान्तिपुर संवाददाता

मुलाले खानालाई पचाउँछ । आयुर्वेदले यसलाई पाचकसमेत भनेको छ । यसले पाचन प्रक्रियालाई सघाउनुको साथै अनेक प्रकारका रोगका किटाणुलाई शरीरबाट निष्काशित गर्छ ।
मुलामा अनेक किसिमका खनिज पदार्थ पाइन्छन् । यो रक्त शोधकसमेत हो ।
आयुर्वेदअनुसार मासिक धर्मको कमीका कारण युवतीहरूमा डन्डिफोर निस्कँदा मुला सेवन गर्नु प्रभावकारी हुन्छ । मुलाले रगत सफा गर्ने मात्र नभई रक्तसञ्चारसमेत ठीक पार्छ । यसले छालामा भएका दाग/पोतो निको पार्छ । मुलामा गन्धक भएकाले यसको गन्ध नै अनेक रोग निको पार्न सहायक हुन्छ ।
भिटामिन ‘ए’ ले युक्त मुला आँखाका लागि समेत फाइदाजनक छ । आयुर्वेदअनुसार जाडोयाममा नियमित रूपमा बिहानीपख एउटा मुला खानेहरूको आँखाको ज्योति वृद्घावस्थासम्म राम्रो रहन्छ र आँखाको अन्य रोगले सताउँदैन ।
मृगौलाको खराबीले पिसाब बन्न बन्द भए मुलाको रस सेवन गर्नाले फाइदा गर्छ । यो मधुमेहमा पनि लाभदायक मानिन्छ । मुला हरेक मौसममा पाइए पनि चिसोयाममा पाइने मुला तुलनात्मक रूपमा बढी गुणस्तरको मानिन्छ ।
आयुर्वेदमा मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण रहने उल्लेख छ । यसले व्यक्तिको गुमेको ऊर्जा फिर्ता आउँछ । छाला च्याउरी परेकाहरूलाई भने नियमित रूपमा मुला सेवन गर्नु फाइदाजनक हुन्छ ।
एक सय ग्राम मुलामा प्रोटिन ०.७ ग्राम, कार्बोहाइड्रेट ३.४ ग्राम, बोसो ०.१ ग्राम, ऊर्जा १७ मिलिग्राम, खनिज ०.६ ग्राम, क्याल्सियम ३५ मिलिग्राम, फाइवर ०.८ ग्राम, फस्फोरस २२ मिलिग्राम, नायसिन ०.५ मिलिग्राम, भिटामिन ‘सी’ १५ मिलिग्राम, फलाम ०.४ मिलिग्राम, क्यारोटिन ३ मिलिग्राम, थायमिन ०.६ मिलिग्राम, राइबोफ्लोविन ०.२ मिलिग्राम र पानी ९४.४ ग्राम हुन्छ ।

स्वास्थ्य

गर्भावस्थाको धूमपानले शिशुमा हाड भाँच्चिने जोखिम

- कान्तिपुर संवाददाता

हालै गरिएको एउटा अध्ययनअनुसार गर्भावस्थाको प्रारम्भिक चरणमा आमाले धूमपान गर्नाले शिशुको हाड भाँच्चिने खतरामा वृद्घि हुन्छ । यो अध्ययन ‘बीएमजे’ मा प्रकाशित भएको हो । सन् १९८३ देखि सन् २००० सम्म स्विडेनमा जन्मेका १६ लाख शिशुमा यो अध्ययन गरिएको थियो ।अध्ययनमा ३ लाख ७७ हजार ३ सय ६७ आमाले आफ्नो गर्भावस्थाको प्रारम्भिक चरणमा धूमपान गरेका थिए भने १३ लाख २ हजार ९ सय ४० आमाले भने धूमपान गरेका थिएनन् । जन्मदेखि लिएर २१ वर्षको औसत उमेरसम्म (अधिकतम ३२ वर्ष) यसको परिणामलाई अवलोकन गरिएको थियो । अध्ययनबाट प्राप्त निष्कर्षमा गर्भावस्थाको समय आमाको धूमपानको सम्बन्ध एक वर्षको उमेरभन्दा पहिलेदेखि नै हाड भाँच्चिनुसँग भएको देखिएको थियो । अध्ययनअनुसार गर्भावस्थामा धूमपान गर्ने आमाबाट जन्मेका शिशुमा एक वर्षसम्मको उमेरमा सबैभन्दा बढी हाड भाँच्चिने सम्भावना हुने देखिएको हो । तर यसको प्रभाव बाल्यकालदेखि लिएर ३२ वर्षको उमेरसम्म पनि रहने देखिएको छ ।

स्वास्थ्य

शल्यक्रियापछि संक्रमणको खतरा

- कान्तिपुर संवाददाता

धेरै पटक बिरामीलाई शल्यक्रियापछि उनीहरूलाई हुने संक्रमणले ज्यानको खतरा हुन्छ । थुप्रै सावधानी र सतर्कता अपनाए पनि चिकित्सा उपकरणमा केही माइक्रोब्स (सूक्ष्म किटाणु) विकसित हुन्छ । यो माइक्रोब्स सामान्यतः कमजोर प्रतिरक्षा प्रणाली भएको बिरामीलाई शल्यक्रियापछि नोक्सान पुर्‍याउँछ । मोनास विश्व विद्यालयका डा.साइमन कारीको नेतृत्वमा गरिएको यो अनुसन्धान ‘अमेरिकन केमिकल सोसाइटी’ को जर्नलमा प्रकाशित छ । अनुसन्धानअनुसार धेरैजसो उपकरणमा ‘कैंडिडा अल्बिकंस’, को उपस्थिति देखिएको थियो । यो सूक्ष्म जीव हो, जो मानिसको शरीरमा प्रत्यारोपित गरिने ‘क्याथेटर’ जस्तो उपकरणमा आफ्नो बस्ती (कोलोनी) विकसित गर्छ । उसो स्वस्थ व्यक्तिमा यो सूक्ष्म जीवको खासै असर हुँदैन ।

Page 9
विदेश

संक्रमणको चेतावनी दिने चिकित्सककै मृत्यु

वुहान अस्पतालका ७ जना बिरामीमा आश्चर्यजनक संक्रमण देखिएको भन्दै उनले डिसेम्बर ३० मा अनलाइन च्याट ग्रुपमार्फत जानकारी गराएका थिए
- एजेन्सी
वुहान सेन्ट्रल हस्पिटलबाहिर चिकित्सक लीको तस्बिरमा श्रद्धाञ्जलीस्वरुप राखिएको फूलगुच्छा । तस्बिर ः एपी

(बेइजिङ) - नोवल कोरोना भाइरस प्रकोपको चेतावनी दिने चिकित्सक ली वेनलियाङको संक्रमणकै कारण मृत्यु भएको छ । कोरोना भाइरसले ‘सार्स’ जस्तै महामारीको रूप लिन सक्ने भन्दै गत डिसेम्बरमै लीले चेतावनी दिएका थिए । उनै ३४ वर्षीय चिकित्सकको शुक्रबार बिहान भाइरस संक्रमणकै कारण मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।
‘दुःखका साथ भन्नुपर्छ, नोवल कोरोना भाइरसको महामारीविरुद्ध लड्दै गर्दा डा. ली वेनलियाङमा संक्रमण भएको थियो,’ वुहान सेन्ट्रल हस्पिटलले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ– ‘उनको निधनप्रति हामी गहिरो शोक व्यक्त गर्दछौं ।’
वुहान अस्पतालका सात जना बिरामीमा आश्चर्यजनक संक्रमण देखिएको र उनीहरुलाई इमरजेन्सी डिपार्टमेन्टमा क्वारेन्टाइनमा राखिएकोडिसेम्बर ३० मा उनले अनलाइन च्याट ग्रुपमा जानकारी गराएका थिए । त्यसबेला उनले आफ्ना सहकर्मीलाई भाइरस संक्रमण भयावह हुन सक्ने भन्दै सजग गराएका थिए ।
प्रहरीले त्यसबेला उनलाई ‘हल्ला नफैलाउन’ चेतावनी दिएको थियो । प्रहरीले सजग गराएका आठजनामध्ये उनी एक थिए ।
कसरी भए संक्रमित ?
प्रहरीको चेतावनीपछि ली नियमति काममा फर्किए । उनी नेत्ररोग विशेषज्ञ थिए । त्यसैले उनी एक महिलाको मोतिबिन्दुको उपचारमा सक्रिय रहे । ती महिला कोरोना संक्रमित थिइन् भन्ने उनलाई जानकारी थिएन । चीनमा प्रख्यात सामाजिक सञ्जाल विबोमा राखिएको एउटा भिडियोमा लीले जनवरी १० मा आफूलाई कसरी रुखाघोकी सुरु भयो, अर्को दिन ज्वरो आयो र दुई दिनपछि अर्थात् जनवरी १२ मा अस्पताल भर्ना हुनुपर्‍यो भन्ने जानकारी राखेका छन् ।
लीबाट अभिभावकमा पनि संक्रमण फैलिएपछि उनीहरूलाई पनि अस्पताल लगिएको थियो । ली बिरामी भएको १० दिनपछि मात्रै जनवरी २० मा चीनले कोरोना भाइरस प्रकोपलाई संकटका रूपमा व्याख्या गरेको थियो । ली आफैंले धेरैपटक आफ्नो संक्रमणबारे परीक्षण भएको विबोमा उल्लेख गरेका थिए । तर भाइरस पुष्टि भएको थिएन । जनवरी ३० मा भने उनले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी
गराएका थिए ।
हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण शुक्रबार बिहानसम्म ६ सय ४० भन्दा बढीको मृत्यु भइसकेको छ । ३१ हजारभन्दा बढी मानिस संक्रमणबाट पीडित छन् ।
विश्व स्वास्थ्य संगठनले चिकित्सक लीको मृत्युमा दुःख व्यक्त गरेको छ । ‘डा. लीको मृत्युले हामी सबै दुःखी भएका छौं । भाइरसबारे उनले गरेका कार्यको हामीले सधैं स्मरण गर्नुपर्छ,’ संगठनले ट्वीट गरेको छ । यसअघि जनवरी २५ मा पनि सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय चिकित्सक लियाङ वुदोङको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको थियो ।
सामाजिक सञ्चालमा आक्रोश
चीनका केही सञ्चारमाध्यमले बिहीबार राति नै लीको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए । तर, अस्पतालले भने शुक्रबार बिहानसम्म पनि उनको अवस्था चिन्ताजनक रहेको भन्दै सामाजिक सञ्जालमा विवरण पोस्ट गरेको थियो । पोस्टमा आधा घण्टाभित्रै ५ लाखभन्दा बढी कमेन्ट आएका थिए । कतिपय कमेन्टमा उनको स्वास्थ्य लाभको कामना गरिएको थियो । त्यसको केही समयपछि उनको मृत्यु भएको आधिकारिक विवरण अस्पतालले प्रकाशित गरेको थियो ।
कोरोना भाइरस संक्रमणबारे चेतावनी जारी गर्ने लीको अन्ततः त्यसैका कारण ज्यान गएको छ । चिनियाँ सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रशासनको अदूरदर्शी नीतिको सिकार ली भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनीहरूले ‘लीलाई नायकको संज्ञा’ दिएका छन् ।
सुरुमा नोवल कोरोना भाइरस संक्रमण पशुपक्षीबाट मानिसमा सर्ने बताइएको थियो । जसका कारण, संक्रमितको उपचारमा खटिएका चिकित्सकका स्वास्थ्यमा त्यति ध्यान दिइएन । परिणामस्वरुप लीजस्ता कैयौं स्वास्थ्यकर्मी संकटमा रहेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखिएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
लीको मृत्युबारे छानबिन हुने
चीनको राष्ट्रिय सुपरिवेक्षण आयोगले चिकित्सक ली वेनलियाङको मृत्युबारे छानबिन गर्न वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ ।
निरीक्षण समूह पठाउने निर्णयलाई चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको आयोगद्वारा शुक्रबार आफ्नो वेबसाइटमा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सक लीको मृत्युप्रति चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले पनि गहिरो दुःख व्यक्त गरेको छ । उसले व्यक्तिगत चुनौती र जोखिमबीच महामारी नियन्त्रणको नेतृत्व गरिरहेका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति विशेष आभार प्रकट गर्दै राज्यबाट उनीहरूको उच्च मूल्यांकन भएको उल्लेख गरेको छ ।
‘महामारी नियन्त्रणको यो अत्यन्त महत्त्वपूर्ण घडीमा सम्पूर्ण समाजले चिकित्साकर्मीलाई बढी सहयोग गर्नुपर्छ साथै समस्यालाई पार गर्न र भाइरसको प्रकोपविरुद्धको लडाइँ जित्न एकजुट हुनुपर्छ,’ एनएचसीले भनेको छ ।

विदेश

पूर्वमुख्यमन्त्रीहरूको नजरबन्द थपियो

- एजेन्सी

नयाँदिल्ली – भारत प्रशासित कश्मीरका दुई पूर्व मुख्यमन्त्रीमाथि घरमै गरिएको नजरबन्द थप गरिएको छ ।
कश्मीरको विशेषाधिकारसम्बन्धी भारतको संविधानमा व्यवस्था भएको धारा खारेज गरिएसँगै गत अगस्ट ५ बाट उनीहरूलाई घरमै नजरबन्द गरिएको थियो । मेहबुबा मुफ्ती र ओमार अब्दुल्लाहलाई भारतको केन्द्र सरकारले घरमै नजरबन्द गरेको हो । विवादास्पद ‘सार्वजनिक सुरक्षा ऐन (पीएसए)’ अन्तर्गत पूर्व मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा राखिएको हो । यस कानुनअनुसार जोकोहीलाई पनि बिनाकुनै मुद्दा २ वर्षसम्म हिरासतमा राख्न सकिने प्रावधान छ ।
६ महिनासम्म नजरबन्द बनाइएका दुई नेतालाई बिहीबार रिहा गर्ने बताइए पनि उनीहरूलाई हालसम्म कुनै अदालतमा वा न्यायिक निकायमा पेस गरिएको छैन ।
बिनाकारण पूर्व मुख्यमन्त्रीहरूलाई घरमै नजरबन्द गरिएको भन्दै भारत सरकारको लामो समयदेखि आलोचना हुँदै आएको छ । यद्यपि सरकारले भने सम्भावित हिंसा रोक्न भन्दै कश्मीरका धेरै नेता कार्यकर्तामाथि धरपकड गरेको छ ।
पूर्व मुख्यमन्त्री मुफ्तीकी छोरीले ट्वीटरमा सरकारले ‘निरकुंश’ कदम चालेको भन्दै विरोध जनाएकी छन् । अर्का पूर्व मुख्यमन्त्री अब्दुल्लाहका तर्फबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन । आलोचकहरूले राजनीतिक नेतालाई विनाकारण घरमै नियन्त्रणमा राख्ने ‘सार्वजनिक सुरक्षा ऐन (पीएसए)’ लाई ‘ड्राकोनियन कानुन’ को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुड भारतीय जनता पार्टी (भाजपा) ले जम्मु–कश्मीरलाई टुक्र्याएर केन्द्र शासित दुइटा एकाई बनाए यता कश्मीरमा हजारौंलाई नियन्त्रणमा लिएको अनुमान स्वतन्त्र विश्लेषकहरूको छ । भाजपा सरकारले स्थानीय राजनीतिज्ञ, अभियन्ता र व्यापारीलाई नियन्त्रणमा लिएको उनीहरूको दाबी छ । साथै, सरकारले कैयौंलाई सहरबाहिरका कारागारमा राखेको आरोप पनि लगाइएको छ । भारतको केन्द्र सरकारले जम्मु–कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेको थियो । उसले कश्मीरमा स्थायित्व ल्याउन र लगानीको वातावरण बनाउन भन्दै धारा खारेजीको निर्णय गरेको थियो ।
कश्मीरकी पूर्व मुख्यमन्त्री
मुफ्तीकी पिपल्स डेमोक्र्याटिक पार्टी (पीडीपी) स्रोतले ‘भाजपाले कश्मीरका प्रमुख राजनीतिज्ञमाथि अपराधीकरण गर्न खोजेको’ आरोप लगाएको छ ।
‘यसले उनीहरूलाई वा कश्मीरको अवस्थालाई सहयोग गर्ने छैन,’ स्रोतलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । कश्मीरका जनतालाई कहिलेसम्म दबाउने
भनेर समेत पीडीपी स्रोतले प्रश्न गरेको छ ।
पर््वू मुख्यमन्त्रीहरूलाई बेलायती उपनिवेशिक युगको कानुन लगाएर बिनाकारण घरमै थुन्ने भारत सरकारको निर्णयको अधिकारवादी संस्था एम्नेस्टी इन्डियाले विज्ञप्तिमार्फत निन्दा गरेको छ ।
जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्दै केन्द्र सरकारले अगस्ट ५ बाटै सो क्षेत्रमा सञ्चारमाध्यमलाई समेत बन्द गराएको थियो । हाल आशिंक रूपमा सञ्चारमाध्यममा खुलाइए पनि कति कश्मीरी जनता सुरक्षा निकायको हिरासतमा छन् भन्नेबारे भने यकिन छैन । भाजपाले भने कश्मीरमा कानुन र व्यवस्था कायम गर्न यी सबै कदम आवश्यक रहेको जिकिर गर्दै आइरहेको छ ।
भारतको संविधानले कश्मीरलाई स्थायी बसोबास, सम्पत्तिको स्वामित्व र आधारभूत अधिकारबारे आफ्नै कानुन बनाउने धारा ‘३७०’ मार्फत सुनिश्चित गरेको थियो ।

विदेश

भारतीय विदेश सचिवसँग सीमा विवादबारे छलफल

- सुरेशराज न्यौपाने
भारतका नयाँ विदेश सचिव हर्षवर्द्धन शृगंलासँगको भेटघाटमा नेपाली राजदूत नीलाम्बर आचार्य (दायाँ) । तस्बिर ः नेपाली राजदूतावास

(नयाँदिल्ली) - भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले नेपालसम्बन्धी नीतिमा विशेष प्रभाव राख्ने दुई उच्च भारतीय अधिकारीसँग भेटेका छन् । आचार्यले शुक्रबार भारतका नयाँ विदेश सचिव हर्षवर्द्धन शृगंला र त्यसअघि बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेटेका हुन् । शृगंला र डोभल नरेन्द्र मोदी नेतृत्वको सरकारमा नेपालसम्बन्धी विषयमा अहं भूमिका खेल्ने अधिकारी मानिन्छन् ।
फेब्रुअरी १ देखि कार्यभार सम्हालेका शृगंला र राजदूत आचार्यबीचको यो पहिलो भेट हो । निर्वतमान सचिव विजयकेशव गोखलले गत जनवरी २९ मा अवकाश पाएपछि मोदी सरकारले अमेरिकाका लागि तत्कालीन भारतीय राजदूत शृगंलालाई विदेश सचिवमा नियुक्त गरेको थियो । शुक्रबार भारतको विदेश मन्त्रालयमा भएको शिष्टाचार भेटमा आचार्य र शृगंलाबीच द्विपक्षीय विषयमा पनि संक्षिप्त छलफल भएको स्रोतले बताएको छ । राजदूत आचार्यले कुराकानीका क्रममा नेपाल र भारतबीचको सीमासम्बन्धी विवाद समाधानका लागि प्रस्तावित विदेश सचिवस्तरीय बैठक चाँडै राख्नुपर्नेमा जोड दिएका छन् । तर, सचिव शृगंलाका तर्फबाट भने त्यस विषयमा प्रस्ट जवाफ नआएको स्रोतको भनाइ छ । भारतले करिब ३ महिनाअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई एकतर्फी ढंगले नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि सिर्जित विवाद समाधानका लागि नेपालले परराष्ट्र सचिवस्तरीय बैठकका लागि जोड दिँदै आएको छ । त्यसका लागि नेपाल सरकारले औपचारिक रूपमा पत्राचारसमेत गरेको थियो । नेपाली पक्षले अनौपचारिक माध्यमबाट समेत बैठकका लागि पहल गरेपछि मात्र भारतले करिब दुई महिनापछि बैठकका सम्बन्धमा सकारात्मक जवाफ पठाएको थियो । नेपालको पत्रपछि दुवै पक्षबीच संवादको बाटो खुलेको हो । भारतले बैठकका लागि सकारात्मक रहेको बताए पनि निश्चित समयबारे भने प्रस्ट जवाफ दिएको छैन । भारतीय विदेश सचिव र नेपालका लागि नयाँ राजदूतको नियुक्ति प्रक्रियामा लाग्ने समयका आधारमा बैठक निर्भर हुने विदेश मन्त्रालयका अधिकारीले बताउँदै आएका छन् । नेपालका लागि भारतीय राजदूतमा विनयमोहन क्वात्रा नियुक्त भइसकेका छन् । शुक्रबारको भेटमा राजदूत आचार्य र सचिव शृगंलाबीच नेपालीमा पनि संक्षिप्त कुराकानी भएको थियो । आमा हरिदेवी बस्नेत (क्षत्री) नेपाली मूलकी भएकाले शृगंला नेपाली भाषा र संस्कृतिसँग पनि
परिचित छन् ।
त्यसैगरी राजदूत आचार्यले मोदी सरकारका अर्का प्रभावशाली अधिकारी राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलसँग पनि भेट गरेका छन् । बाह्रखम्बास्थित दूतावासले राजदूत आचार्य र डोभलसँगको भेटका लागि प्रयास गर्दै आए पनि सम्भव भएको थिएन । राजदूत आचार्य दिल्ली आएको एक वर्षपछि मात्र यी दुईबीच औपचारिक भेट भएको हो । सुरक्षा सल्लाहकार डोभल नेपालसम्बन्धी मामिलामा विशेष चासो राख्छन् । भारतले चार वर्षअघि नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका लागि डोभललाई समेत जिम्मेवार ठानिन्छ । यो पृष्ठभूमिमा राजदूत आचार्य र डोभलबीचको भेटलाई नेपालमा विशेष चासोका साथ हेरिएको छ ।
डोभलकै कार्यालयमा बुधबार भएको करिब डेढ घण्टा लामो वान–अन–वान भेटमा के–कस्ता विषयमा छलफल भयो भन्ने प्रस्ट हुन सकेको छैन । राजदूत आचार्यले कान्तिपुरसँगको कुराकानी उक्त भेटमा नेपाल र भारतबीचका समग्र विषयमा छलफल भएको मात्र बताए । ‘नेपाल र भारत सम्बन्धका सबै पक्षमा खुलेर कुराकानी भयो,’ राजदूत आचार्यले भने । उनले छलफलका विषय भने खुलाएनन् ।

 

विदेश

महिनामा दुई करोड ५० लाख डलर चन्दा

- एजेन्सी

वासिङ्टन – राष्ट्रपतिको निर्वाचन अभियानका लागि सन् २०२० को जनवरीमा आफ्ना शुभेच्छुकबाट कुल २ करोड ५० लाख अमेरिकी डलर सहयोग जम्मा भएको डेमोक्र्याटिक पार्टीका नेता तथा सिनेटर बर्नी स्यान्डर्सले बताएका छन् ।
प्रतिव्यक्ति १८ डलरका हिसाबले ६ लाख ४८ हजारभन्दा बढी व्यक्तिबाट सहयोग प्राप्त भएको स्यान्डर्सले ट्वीटमार्फत् जानकारी दिएका हुन् ।
नोभेम्बर ३ मा हुने अमेरिकी निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन डेमोक्र्याटिक पार्टीका तर्फबाट मनोनयनका लागि दावेदार स्यान्डर्सले सोमबार आयोवामा सम्पन्न निर्वाचनपछि पहिलोपटक ट्वीट गरेका हुन् । ककस (निर्वाचन) ले सन् २०२० प्राइमरीमा पार्टीका तर्फबाट आयोवामा भएको प्रतिस्पर्धाको नतिजा पनि सार्वजनिक गरेको छ । जसअनुसार आयोवामा पहिलो चरणको चुनावमा स्यान्डर्सले कुल २६.१ प्रतिशत मत प्राप्त गरेका छन् । उनी दोस्रो मत पाउने उम्मेदवार भएका छन् । उनीभन्दा ०.१ प्रतिशत बढी मत ल्याएर साउथ बेन्ड, इन्डियानाका पूर्वमेयर पेट्टे बुटिगिग पहिलो स्थान हासिल गरेका छन् ।
यसैबीच, प्राविधिक समस्याका कारण ढिलाइ भएको मतगणना नतिजाप्रति डेमोक्र्याटिक नेसनल कमिटी (डीएनसी) का अध्यक्ष टोम पेरेजले बिहीबार कससको नतिजा पुनरावलोकन गर्न आग्रह गरेका छन् । परेजले ट्वीट गर्दै भने, ‘प्राविधिक समस्याका कारण प्रतिनिधि छनोट योजनाको कार्यान्वयनमा आएको नतिजा र नतिजामा जनताको विश्वास दिलाउन समस्या भएको खण्डमा तुरून्त पुनरावलोकन गरियोस् ।’
आयोवाले सोमबार रिपब्लिकन चुनाव पनि सम्पन्न गरेको छ, जसमा ट्रम्पले सहज जित
निकालेका छन् । २०२० राष्ट्रपतीय चुनावको दौड उत्तर–पूर्वी राज्य न्यु हैम्पसायरमा सर्दै छ । यहाँ प्राइमरी निर्वाचन फेब्रुअरी ११ का लागि
तोकिएको छ ।

Page 10
समाचार

अछामलाई छाउगोठमुक्त घोषणा गर्ने तयारी

- मेनुका ढुंगाना

(अछाम) - छाउगोठहरू भत्काइएपछि महिला र किशोरीहरू महिनावारीका बेला घरैमा बस्न थालेका छन् । उनीहरूलाई छाउ बार्न घर बाहिर राख्नेलाई कानुनी कारबाही हुने सुनेपछि परम्पराका नाममा हुँदै आएको यातनाका घटना प्रकाशमा आउन छाडेका छन् । अभियान सुरु भएको डेढ महिनामा अछाममा ४ हजार ८ सय ४४ छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ ।
अभियानले सफलता पाएपछि अछामलाई फागुन महिनाभित्र छाउगोठमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । ‘माघभरिमा हामी सबैतिरका छाउगोठ भत्काइसक्ने अभियानमा छौं,’ प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भने, ‘सम्भव भएसम्म फागुनभित्रै जिल्लालाई छाउगोठमुक्त घोषणा गर्ने लक्ष्य छ ।’ प्रहरीसँगै जनप्रतिनिधि पनि अघि सरेर गोठ भत्काउने अभियानमा जुटेपछि छाउप्रथाविरुद्ध लागेकाहरूको आवाज सशक्त भएको उनले बताए । मंगलसेनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत
गुरुङको उपस्थितिमा हालै सम्पन्न ‘मर्यादित महिनावारी प्रवर्द्धनका लागि साझा अभियान’ मार्फत १३ बुँदे घोषणापत्र जारी गरेको थियो ।
घोषणापत्रमा स्थानीय सरकारको संयोजनमा छाउपडी बस्ने चलनविरुद्ध जनचेतना फैलाउने, सरसफाइ तथा स्वच्छता व्यवस्थापन गर्ने र प्रत्येक वडा तथा टोलस्तरमा नियमित अनुगमन गरिने उल्लेख छ । त्यस्तै गोठ भत्काएपछि पनि वैकल्पिक रूपमा पाल टाँगेर छाउ बार्ने तथा ओडारमा
बस्ने गरेको भेटिए कानुनबमोजिम कारबाही गरिने पनि घोषणापत्रमा छ ।
गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा बसेका बेला मृत्यु भएको थियो । घटनापछि पक्राउ गरिएका जेठाजु छत्रलाई अछाम जिल्ला अदालतले ४५ दिन कैद सजाय गरेको थियो । गत भदौमा जारी अपराध संहितामा यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिएको छ । कानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे तीन महिनासम्म कैद वा ३ हजारसम्म जरिवानाको प्रावधान छ । यही कानुन रावतका हकमा पहिलो पटक आकर्षित भएको हो । रावतलाई अदालतले कैद सजाय गरेयता महिला र किशोरीलाई छाउगोठमा बस्न बाध्य पार्न नहुने सन्देश गाउँगाउँमा सञ्चार भएको छ ।
छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन् । ‘कानुनको बारेमा जान्दाजान्दै गोठमा बसाउनु हाम्रो गल्ती नै थियो,’ रावतले भने, ‘मेरो गाउँमा आमा, दिदीबहिनी सबैलाई छाउगोठमा नबसाउन आग्रह गरिरहेको छु ।’ देउता रिसाउँछन् भन्ने डरले नै छाउगोठमा राख्दा बुहारीको मृत्यु हुनु र आफूले समेत सजाय भोग्दा अरू छाउगोठमा बस्नेलाई समेत सचेत बनाएको उनले बताए ।
गृह मन्त्रालयको निर्देशनपछि प्रहरीको नेतृत्वमा सुरु भएको छाउगोठ भत्काउने अभियानमा सबै पक्षको सहयोग भएको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले बताए । सुरुवात साँफेबगर नगरपालिकाले गरेपछि अन्य नौवटा स्थानीय तहले पनि चासो देखाएका हुन् । ‘अटेर गर्नेलाई कारबाही गर्ने र सेवासुविधा रोक्न सक्ने अवस्था पनि आउने चेतावनीले पनि सकारात्मक परिवर्तन आएको छ,’ प्रहरी प्रमुख भारतीले भने ।

Page 11
अर्थ वाणिज्य

पप्पुका ठेक्कामै बढी समस्या

- विमल खतिवडा

(काठमाडौं) - लाकी राजमार्ग मेलम्चीभन्दा कमजोर भयो, कहिल्यै सम्पन्न नहुने आयोजना बन्यो । त्यसमा पनि पप्पुले ठेक्का लिएको खण्ड धूलैधूलो, उबडखाबड, हैट् ।’
पुस अन्तिम साता प्रदेश २ पुगेका पूर्वअर्थसचिव रामेश्वर खनालले
हुलाकी सडकलाई मेलम्ची खानेपानी आयोजनासँग तुलना गर्दै गरेको ट्विट हो यो । धूलैधूलोको समस्या भोग्ने उनी एक्ला होइनन् । पर्साखण्ड भएर यात्रा गर्ने
प्रायः मानिसले बर्खामा हिलो र हिउँदमा धूलोको समस्या बेहोर्नुपर्छ । उनीहरूले सडक र पुल बनाउनेसँग बढी आक्रोश पोखिरहेका हुन्छन् ।
बर्खाका बेला पुल तर्न पाइन्न, हिउँदमा हावाहुरीले उडाउन धूलोले नजिकैका मानिस चिन्न गाह्रो पर्छ । यी सबैको कारण हो– ठेक्का भएको वर्षौं बित्दा पनि पुल र सडक नबन्नु । हुलाकी राजमार्ग आयोजनामा बढी समस्या देखिनेमा पप्पु कन्स्ट्रक्सनले जोइन्ट भेन्चरमा लिएका पूर्वाधार छन् । ६५ अर्ब २० करोड रुपैयाँका ठेक्कामध्ये ७ अर्ब १७ करोड ४३ लाख २३ हजारको ठेक्का पप्पु जेभीमा रहेको हुलाकी राजमार्ग निर्देशनालयले जानकारी दिएको छ । हुलाकी राजमार्गमा सबैभन्दा बढी ठेक्का लिनेमध्ये पनि पप्पु नै पर्छ ।
‘पप्पुले लिएका ठेक्कामा कामै भएको छैन,’ निर्देशनालयका निर्देशक रोहित बिसुरालले भने, ‘पप्पु अक्षम देखिएपछि उसको पार्टनरले काम गरेको छ । जेभीमा ठेक्का गर्दा एउटाले काम नगर्दा अर्कोले काम गर्छ ।’ पप्पुले लिएका १७ वटा ठेक्कामध्ये १० सडक र ७ वटा पुल छन् । त्यसमा पनि सबैभन्दा बढी समस्या पुलमा देखिएको छ । अहिले पर्साको तिलाबे पुलमा समस्या देखिएको छ । ०७५ जेठमा सक्ने गरी ०७२ जेठमा यो पुलको ठेक्का लागेको थियो । ७ करोड ७१ लाख ७३ हजार ठेक्का रकम रहेको यो पुलको काम अहिलेसम्म २५ प्रतिशत मात्र सकिएको छ । यो पप्पु कन्स्ट्रक्सनका संस्थापक हरिनारायण रौनियारको निर्वाचन क्षेत्रमा पर्छ । ‘पप्पुले काम नगरेपछि अहिले जेभीमा रहेको लुम्बिनीले काम गरिरहेको छ,’ प्रमुख बिसुरालले भने, ‘पप्पुसँग जेभी रहेकाहरूले उसले काम नगरेपछि आफैंले काम गरिरहेका छन् ।’
०६८ सालमा ठेक्का भएका चारवटा पुल निर्माण अझै सकिएको छैन । ठेक्का सम्झौता अवधि सकिसकेको छ । तर कामको प्रतिशत सन्तोषजनक छैन । ०७१ मंसिरमा सक्ने गरी ०६८ जेठमा कमला पुलको ठेक्का भएको निर्देशनालयले जनाएको छ । पप्पु/लुम्बिनी जेभीले लिएको यो पुल निर्माणको प्रगति ५६ प्रतिशत मात्र छ । त्यस्तै बलान पुलको ठेक्का ०६८ फागुनमा भएको हो । ०७२ भदौमा सकिनुपर्ने यो पुलको प्रगति पनि ६५ प्रतिशत मात्र छ । यसको ठेक्का शर्मा/पप्पु जेभीले लिएको हो । झापाको कन्काई पुलको प्रगति झन् कम छ । ०६८ जेठमा ठेक्का भएको पुलको ०७२ जेठमा ठेक्का सम्झौता सकिइसकेको छ । पप्पु/महादेव जेभीले लिएको यो पुलको कामअहिले सम्म ४९ प्रतिशत मात्र छ ।
‘सुरुकै चरणमा ठेक्का भए, पछि काम गर्दै जाँदा समस्या आएका हुन्,’ बिसुरालले भने, ‘पुलको सन्दर्भमा भने प्राविधिक समस्यासमेत देखापर्‍यो, खोलाले धार परिवर्तन गर्दा समस्या भयो, जहाँ समस्या आयो, त्यहाँ डिजाइन रिभ्यु गर्दै काम अघि बढाइएको छ ।’ लामा र ठूला पुलमा समस्या देखिएको उनको भनाइ छ । ‘समस्याग्रस्त ठेक्कालाई विशेष निगरानी गरेर काम अघि बढाउँदै छौं,’ उनले भने ।
हुलाकी राजमार्ग आयोजना ०६६/०६७ बाट सुरु भएको हो । सुरुमा भारत सरकारबाट सञ्चालित यो आयोजना उतैबाट निर्माण व्यवसायी र कन्सल्टेन्टमार्फत काम अघि बढाइएको थियो । तर भारतीय निर्माण व्यवसायीले बीचमै काम अलपत्र पारेर गएपछि मोडालिटी परिवर्तन गरियो । ‘नयाँ तरिकाबाट अघि बढ्दा भारत सरकारले भारु ५ अर्ब (८ अर्ब रुपैयाँ) हुलाकी राजमार्गलाई नियमित गर्‍यो,’ बिसुरालले भने, ‘भारत सरकारमार्फत निर्माणाधीन १० सडकमध्ये तीनवटा सडक बनिसकेका छन् ।’ बाँकी ७ सडक चालु आवभित्र सम्पन्न हुने उनको भनाइ छ । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत ९ सय ७५ किमि मुख्य राजमार्ग हो । सहायक सडकको दूरी ८ सय १७ किमि छ । सबै गरेर यसको दूरी १७९२ किमि हुन्छ । यसको निर्माण सम्पन्न गर्ने अवधि आव ०७९/८० रहेको निर्देशनालयले जानकारी दिएको छ । तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट ८० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । यो आयोजनाको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड थियो ।
संशोधित लागत ६५ अर्ब २० करोड छ । हुलाकी सडकमा २ सय १९ वटा पुल बन्नेछन्, जसमध्ये ८५ वटा निर्माण भइसकेका छन् । ०७५/७६ मा ३ सय ४० किमि सडक ग्राभेल भएको छ भने १ सय ७० किमि सडक कालोपत्रे गरिएको छ । ‘पहिलो चरणको ठेक्का लगाउने र कार्यान्वयन गर्ने काम चलिरहेको छ,’ बिसुरालले भने ।
पप्पु कन्स्ट्रक्सनका प्रमुख सुमित रौनियारले भने जेभीमा भएका ठेक्काको सबै काम आफूहरूले नगरेको दाबी गरे । ‘जेभीमा भएको ठेक्कामा हाम्रो नाम भए पनि हामीले मात्र काम गर्ने होइन,’ उनले भने, ‘तर नियतवश हाम्रो कन्स्ट्रक्सनको मात्र नाम जोडेर काम नगरेको भन्दै समाचार आउने गरेका छन्, त्यो वास्तविकता भने होइन ।’ पप्पु कन्स्ट्रक्सनले ५ सय करोडका ठेक्का लिएको र सबै ठेक्काको ८० प्रतिशत काम सकिएको उनको दाबी छ ।

‘अन्य ठाउँमा पुल निर्माण भएका छैनन् भने हाम्रै कन्स्ट्रक्सनको नाम जोडेर समाचार बनाइन्छ,’ उनले भने, ‘तर समयमै काम सकिएकोबारे कहिल्यै बाहिर आउँदैन, कसैले समयमै काम सक्यो भनेर समाचार बनाउँदैनन् ।’
पुल निर्माणमा समस्या भने रहेको उनले स्विकारे । ‘ठेक्का सम्झौतामा ६ महिनाभित्रमा ड्रोइङ/डिजाइन अप्रुभ गरिसक्ने लेखिएको हुन्छ । ठेक्काको समय २ वर्ष हुन्छ,’ उनले भने, ‘तर अप्रुभ हुनै तीन वर्ष लाग्छ, अब भन्नुस्, यसमा अब दोषी को ? ठेक्का लगाउने मान्छे दोषी हुँदैन ?’ आफ्नो कन्स्ट्रक्सनले लिएका ठेक्कामा कतै समस्या नभएको उनले दाबी गरे । केही ठाउँमा भने मुअब्जाको समस्या नसुल्झिँदा काम अघि बढ्न नसकेको उनले बताए ।
सुमितका पिता हरिनारायण रौनियार कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हुन् । उनी तत्कालीन संघीय समाजवादी फोरम (अहिले समाजवादी पार्टी) बाट पर्सा क्षेत्र नम्बर ३ मा निर्वाचित सांसद् हुन् । सांसद रौनियार प्रमुख रहेको पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि संघीय संसद् सचिवालयले गत असोज १९ गते सांसद रौनियारलाई निलम्बन गरेको थियो । बर्दियास्थित जब्दीघाट बबई पुल निर्माणमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।
पप्पु कन्स्ट्रक्सनले नराम्रो काम गरे पनि उसलाई स्विकार्ने प्रवृत्तिले समस्या भएको पूर्वभौतिक सचिव तुलसी सिटौला बताउँछन् । कन्स्ट्रक्सन चलाउने मान्छे सांसद् हुने र पावर प्रयोग गरी ठेक्का लिने प्रवृत्ति हाबी रहेको उनको भनाइ छ । ‘ठेक्का समस्याग्रस्त भए पनि नियामक निकायले कारबाही गर्न हच्किँदा पप्पु जस्ता कन्स्ट्रक्सनले ठेक्का पाइरहेको उनले बताए ।
लो बिडमा ठेक्का लिने र समयमै काम नगर्ने प्रवृत्ति पनि उत्तिकै रहेको उनको भनाइ छ । ‘समयमै आयोजना नसकिनुको पहिलो कारण निर्माण व्यवसायी नै हुन्,’ उनले भने, ‘कुनै ठाउँमा भने निर्माण व्यवसायीले राम्रो गर्दागर्दै पनि ढिलाइ हुने गरेको छ ।’ पूर्वतयारीबिना ठेक्का गर्ने गरिएकाले पनि समस्या बढेको उनले बताए ।

अर्थ वाणिज्य

सातामै खपत हुन्छ दुई लाख गुलाब

- नुमा थाम्सुहाङ

(काठमाडौं) - फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डे (प्रणय दिवस) का रूपमा मनाइँदै आएको छ । साता दिनयता यही दिवसलाई लक्ष्य गरी गुलाब ल्याउने क्रम बढेको छ । साताभर मनाइने यो दिवसमा १ करोड ६० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।
‘साताभरमा २ लाख गुलाबका स्टिक (प्रतिगोटा फूल) खपत हुन्छन्,’ उनले भने, ‘यसमा १ लाख ५० हजार स्टिक भारत र अन्य केही देशबाट आयात हुन्छन् । बाँकी स्वदेशी उत्पादन नै खपत हुन्छ ।’ प्रतिस्टिक गुलाबको थोक मूल्य ४०/५० रुपैयाँसम्म पर्छ । उपभोक्ताले भने फूलको ग्रेडअनुसार ७० देखि १ सय रुपैयाँसम्ममा पाउने पोखरेलले बताए । ‘सात दिनमध्ये पनि भ्यालेन्टाइन्स डेका दिन सबैभन्दा बढी फूल खपत हुन्छ,’ उनले भने, ‘काठमाडौं, पोखरा, चितवन, बुटवल, नेपालगन्ज र धरानलगायत सहरमा गुलाब खपत बढी हुन्छ ।’
चितवन गुन्जनगरका प्रकाश पन्त प्रणय दिवसका लागि १० हजार रुपैयाँको गुलाबका स्टिक मगाउने तरखरमा छन् । पाण्डे एब्लोम
फ्लोरा फार्मका सञ्चालक उनको फार्मले गुलाबका फूलसमेत उत्पादन गर्छ । बिरुवा भर्खरै लगाएकाले भारतबाट गुलाब आयात गर्नुपरेको उनले बताए । गतवर्ष आफ्नै फार्मबाट ३५ हजार गुलाबका स्टिक बिक्री गरेको उनले दाबी गरे ।
यो दिन सबैले माया दर्साउन आफ्ना प्रेमीप्रेमिकालाई फूल दिने गर्छन् । पश्चिमा संस्कृति भए पनि यो पछिल्लो समय नेपाली युवापुस्तामाझ निकै रुचाइएको छ ।

युवा पुस्ताले मात्र नभई सबैले एकअर्कालाई माया साटासाट गर्न गुलाबको फूल दिने गरेको व्यवसायी गोमा रानामगरले बताइन् । उनले काठमाडौं, त्रिपुरेश्वरमा ६ वर्षदेखि न्यु फ्लोरिस्ट फ्लावर सफ सञ्चालन गर्दै आएकी छिन् । ‘अरु बेलाको तुलनामा भ्यालेन्टाइन्स डेका दिन यसको माग दोब्बर बढ्छ,’ उनले भनिन्, ‘अहिले भ्यालेनटाइन्स डे मात्र होइन, चकलेट डे, रोज डे आदि मनाउने चलन छ । तर यसमा गुलाबको फूल नै बढी प्रयोग गरिन्छ । यसैले फूलको कारोबार बढेको हो ।’ हुन त विवाह एवं विभिन्न समारोहका बेला पनि गुलाबको फूल माग हुने गरेको छ ।
तर बढी मात्रामा भ्यालेन्टाइन्स डेका अवसरमा खपत हुने उनले बताइन् । त्रिपुरेश्वरमै रहेको युनाइटेड फ्लोराका सञ्चालक लोकनाथ गैरेले पनि यस वर्ष प्रणय दिवसका लागि २० हजार स्टिक गुलाबको फूलको अर्डर लिएका छन् ।
नेपाली उत्पादन चैतदेखि मंसिरसम्म मात्र हुन्छ । त्यसैले जाडोका बेला मात्र आयातित गुलाबका फूल बिक्री गरिने उनले जानकारी दिए । भारतबाट आयातित फूल काठमाडौंका अतिरिक्त पोखरा, नेपालगन्ज, चितवन, धरान र धनगढीसम्म पुग्ने उनको भनाइ छ ।
४० लाख स्टिक स्वदेशमै
नेपालमा वार्षिक ४० लाख स्टिक गुलाबको फूल उत्पादन हुन्छ । यहाँको उत्पादन हुने गुलाबको कारोबार ५ करोड ६० लाख रुपैयाँबराबरको हुन्छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, सिन्धुली, काभ्रे, नुवाकोट, मकवानपुरलगायत जिल्लामा व्यावसायिक गुलाबको फूल खेती गरिँदै आएको नेपाल फ्लोरिकल्चर एसोसिएसनका महासचिव पोखरेलले बताए ।
भ्यालेन्टाइन्स डेलाई मात्र भनेर फूल उत्पादन गर्न स्वदेशी व्यवसायीलाई समस्या भएको उनको भनाइ छ । ‘भ्यालेन्टाइन्स डेका लागि मात्र भनेर खेती गर्न किसानलाई समस्या छ,’ उनले भने, ‘यसको भोलिपल्टको उत्पादनलाई कहाँ लगेर खपत गर्ने ?’ फूल व्यवसाय वार्षिक १५/२० प्रतिशत बढिरहेको उनले बताए । उत्पादनसँगै यसको खपतमा पनि बढी ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘नेपालका केही आधुनिक ग्रिन हाउसले मात्र उत्पादन गुलाब फूल उत्पादन गर्छन् । त्यसैले यो सिजनमा आयातकै भर पर्नुपर्छ,’ उनले थपे ।
चिसोका कारण काठमाडौंमा गुलाबको फूल उत्पादन नहुने नार्गाजुन नगरपालिकास्थित सिर्जना कट फ्लावरका सञ्चालक पाण्डव श्रेष्ठले बताए । ‘हामीले अन्य सिजनल फूल मात्र उत्पादन गरिरहेका छौं,’ उनले भने ।

Page 12
अर्थ वाणिज्य

गरिमामा क्षतिपूर्ति माग्दै किसान

- कान्तिपुर संवाददाता

नुवाकोट (कास)– उन्नत जातको धानको बीउ भनेर लगाइएको गरिमा जातको हाइब्रिड धान नफलेपछि जिल्लाका किसानले क्षतिपूर्ति माग गरेका छन् । तारकेश्वर गाउँपालिका–४ बुधसिङ चारघरेका किसानले गरिमा धान नफलेपछि बेसाएर चामल खाइरहेका छन् ।
‘धान फलेन,’ स्थानीय किसान रमेशपुकार बस्तीले भने, ‘चामल नकिनी दैनिकी टार्न गाह्रो भयो । क्षतिपूर्ति पाइन्छ भन्थे । तर अझै पाइएको छैन ।’ उनले साढे ३ रोपनी खेतमा गरिमा हाइब्रिड धान लगाएका थिए । उनका छिमेकी विष्णुबहादुर पुडासैनीको पनि अवस्था पनि उस्तै छ । उनले पनि गरिमा जातको धानको बीउ लगाएका थिए । ‘धान नफलेपछि हरियो परालमै काटियो,’ उनले भने, ‘बीउ खराब परेपछि के गर्ने ?’ चितवनबाट उक्त धानको बीउ ल्याइएको किसान बताउँछन् ।

अर्थ वाणिज्य

समयमा सकिँदैनन् ठूला आयोजना

- अगन्धर तिवारीे,हरिराम उप्रेती

(पर्वत/गोरखा) - २७ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७३ जेठ १७ मा निर्माण थालिएको कालीगण्डकी विद्युत् प्रसारण करिडोर आयोजनाको ९० प्रतिशत मात्र काम सकिएको छ । आयोजना सम्पन्न हुन अझै एक वर्ष लाग्ने जनाइएको छ ।
गत वर्ष नै सकिनुपर्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डको ट्र्याक खोल्ने र दुई मोटरेबल पुल निर्माणले पनि गति लिन नसकेकाले समयमै सम्पन्न हुने सम्भावना छैन । २०७४ भदौमा सम्झौता भई तीन वर्षमा सक्नुपर्ने मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सकिन साढे सात महिना पनि बाँकी छैन तर काम भने ६० प्रतिशत मात्र सकिएको छ ।
यी तीन वटै राष्ट्रिय प्राथमिकतामा परेका आयोजना हुन् । सुरुको वर्ष लक्ष्यअनुसार नै काम अघि बढाएको कालीगण्डकी प्रसारण आयोजनाले पछिल्ला दुई वर्ष सरकारी निकाय तथा स्थानीयको अवरोध झेलिरहेको छ । जसका कारण आयोजना तोकिएको मितिमा सकिने सम्भावना छैन ।
वन मन्त्रालयले रुख कटानमा अवरोध गर्दा काम अपेक्षित रूपमा अघि बढ्न नसककेको आयोजनाले जनाएको छ । आयोजना निर्माण गर्दा बस्ती छलेर प्रसारण लाइन विस्तार गर्नुपर्ने प्राविधिक मान्यता छ । ‘अझै तीन वटा सामुदायिक वनमा कटान अनुमति पाएकै छैनौं,’ आयोजना प्रमुख चन्दनकुमार घोषले भने, ‘यसअघि झेलेका समस्या निकै छन् ।’ सरकारकै एक निकायले थालेको कामबारे अर्कोले प्रश्न उठाउँदा निर्माण कार्य महिनौं अवरुद्ध हुने गरेको छ । रुख कटानका लागि मागेको अनुमति मन्त्रिपरिषद् बैठक, वन मन्त्रालय, विभाग हुँदै वन डिभिजनसम्मबाट स्वीकृत हुन महिनौं लाग्दा समस्या झेल्नुपरेको आयोजनाको गुनासो छ । त्यसबाहेक आवादी जग्गाका स्थानीयले गरेको विरोधले पनि आयोजना करिब दुई वर्ष पर धकेलिने निश्चित छ ।
आयोजनाको प्रसारण लाइन र सबस्टेसनको जिम्मा लिएको भारतको टाटा चिन्ट जेभीले हालसम्म ९० प्रतिशत मात्र काम सकेको छ । सबै काम सकिन अझै वर्ष दिन लाग्ने घोषले बताए । ‘अहिलेको गतिरोध अन्त्य नभएसम्म समस्या छ,’ उनले भने । तर आयोजनाको कुन स्थानमा कस्तो गतिरोध छ भन्नेबारे उनले खुलाएनन् । तोकिएको मितिमा काम नसके जरिवाना तिर्ने सम्झौता भएको टाटाले काम गर्ने वातावरण नपाए उल्टै प्राधिकरणसँग क्षतिपूर्ति लिने सम्झौता पनि गरेको छ । ‘उसले नसके हामी जरिवाना लिन्छौं । लाइन क्लियर गर्न नसके उल्टो हामीले दिनुपर्छ,’ घोषले भने । एसियाली विकास बैंकलगायत विभिन्न दातृ निकायको ऋण सहयोगमा ८ अर्ब ४२ करोड लागतको आयोजनाअन्तर्गत म्याग्दीको दाना, पर्वतको खुर्कोट र बुटवलमा सबस्टेसन निर्माण हुनेछन् । दाना–खुर्कोट प्रसारण लाइनमा २२०/१३२ केभीका टावर निर्माण गरिनेछ । त्यसमार्फत दानादेखि खुर्कोटसम्म ५ सय र खुर्कोटदेखि बुटवलसम्म १५ सय मेगावाट विद्युत् प्रसारण गर्न सकिनेछ ।
कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा लामो समय निर्माण रोकिएका दुई पुलको काम समयअघि सुरु भएको छ । अघिल्लो वर्ष सकिने फलेबास–अर्मादी खण्डको ट्र्याक अझै पूरा भएको छैन । कुस्मा–५ मोदीवेणी र फलेबासको केही ठाउँमा ट्र्याक बन्न बाँकी छ ।
मोदीमा पुल निर्माण सुरु गरेको कम्पनीले कुस्मातर्फ र मोदी खोलाको बीचमा अघिल्लो जेठमा दुइटा पिलर उठाएर लामो समय सम्पर्कविहीन भएको थियो । मोदी खोलाको पुल ९ करोड १४ लाखमा मुक्तिनाथ कन्स्ट्रक्सन र लमाय खोला पुल ५ करोड ६४ लाखमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएका थिए । गौचन जेभीले पुल बनाउन जिम्मा दिएको पेटी ठेकेदार पनि सम्पर्कविहीन भएका थिए । सम्झौता सकिएपछि ठेकेदारलाई जरिवाना तिराएर काम अघि बढाइएको आयोजनाको पाल्पास्थित डिभिजन कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले बताए । ‘लामो समय काम रोकिएको हो,’ उनले भने, ‘केही समय थपेर जरिवाना पनि तिरायौं । अहिले पुलको काम चलिरहेको छ । असारभित्रै सक्ने लक्ष्य छ ।’ ट्र्याक खोल्ने कामका लागि पनि सम्बन्धित क्षेत्रसँगको सहकार्यमा काम हुने चरणमा रहेको उनले बताए । आयोजनाले मुक्तिनाथ कन्स्ट्रक्सनलाई काम छाडेपछि पनि ३ करोडभन्दा बढी भुक्तानी दिइसकेको खुलेको थियो । कालीगण्डकी करिडोरकै बजेट र सोहीअनुसारको प्राथमिकता दिइएको सडकअन्तर्गत कुस्मादेखि स्याङ्जाको मिर्मीसम्म करिब ६८ किलोमिटर खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम अघि बढेको थियो । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको काम पनि अपेक्षित रूपमा अघि बढेको छैन । हालसम्म करिब ६० प्रतिशत मात्रै सकिएको आयोजनाको पर्वत कार्यालयका प्रमुख आशिष थापा मगरले जानकारी दिए । तीनवर्षे अवधि आगामी भदौमा सकिँदै छ । अहिलेसम्मको प्रगति अनुपातले समयमै काम सकिनेमा आशंका छ ।
कुस्मा नगरपालिकाको चुवा तथा मोदी गाउँपालिकाको बेतेनीमा कडा चट्टान फुटाउने काम सुरु भएकै छैन । पर्वतको २४ किलोमिटरको सम्झौतामध्ये कुस्मा र पातीचौर बजार क्षेत्रमा ६ र ४ लेनको काम भर्खर सुरु भएको छ । ‘मुख्य गरी चट्टानले समस्या परेको हो,’ आयोजना प्रमुख थापा मगरले भने, ‘गृह मन्त्रालयसँग कुरा भइरहेको छ । विस्फोटक पदार्थ मगाएर काम गर्नुपर्ने बाध्यता छ ।’ आयोजनाको सम्झौतामा समयमा काम नसके दैनिक ०.०१ प्रतिशतका दरले जरिवाना तिराउने व्यवस्था छ ।
जिल्लामा सञ्चालित ससाना सडक आयोजना पनि तोकिएको समयमा सम्पन्न भएका छैनन् । पूर्वाधार विकास कार्यालयका अनुसार तत्कालीन सडक डिभिजन कार्यालयमार्फत जिम्मेवारी सारिएका सडकको प्रगति निराशाजनक छ । ‘हामीले सुरु गरेका सबै आयोजना एक वर्ष पनि भएका छैनन्,’ कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीले भने, ‘सडक डिभिजनबाट जिम्मेवारी सरेका केही आयोजनामा समस्या छ ।’ बागलुङस्थित डिभिजन सडक कार्यालयबाट जिम्मेवारी सरेका १० मध्ये सात सडकको काम समयमा सकिने गरी प्रगति नदेखिएको उनले स्विकारे । स्तरोन्नति तथा कालोपत्रे सडकको सूचीमा परेकामध्ये डिमुवा–राम्जा–चित्रे सडकको काम निकै सुस्त भएको कार्यालयले जनाएको छ । आगामी चैतसम्म सकिनुपर्ने सडकमा हालसम्म ८० प्रतिशत प्रगति पनि पुगेको छैन । जिल्लामा करिब डेढ दर्जन सडक स्तरवृद्धि तथा कालोपत्रेको चरणमा रहेका भए पनि धेरैजसो सडकको काम सम्झौता मितिभित्र सकिने सम्भावना कमै छ ।
सरकारीमा मात्र होइन, तोकिएको समयमा काम सम्पन्न नहुने समस्या निजी क्षेत्रका आयोजनामा पनि छन् । मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी र १५.१ मेगावाटको मध्यमोदी जलविद्युत् आयोजना सम्पन्न हुने समय गुज्रिइसक्दासमेत उत्पादनको सुरसार छैन । दुई वर्षअघि नै उत्पादन दिने लक्ष्यसाथ ०६९ असारबाट सुरु तल्लो मोदीको उत्पादन कहिले हुने भन्ने अन्योल छ । त्यस्तै मंसिरमा सक्ने गरी चौधरी ग्रुपले निर्माण थालेको मध्यमोदी जलविद्युत् आयोजनाले लक्ष्यअनुसार प्रगति गर्न सकेको छैन । २ अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाका चौधरी ग्रुपका सञ्चालक विनोद चौधरीले आगामी मंसिरभित्र उत्पादन दिने बताएका थिए । भूकम्प र नाकाबन्दीका कारण निर्माण अवधि केही समय बढाइएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यको भनाइ छ ।

२६ योजनाको म्याद थपिँदै
गोरखाको बेनीघाट–लार्के सडक खण्डअन्तर्गत सोती खोलामाथि पुल निर्माणका लागि ०६८ असार २९ मा ठेकेदार कम्पनी रायमाझी इशान जेभीसँग ठेक्का सम्झौता भयो । सम्झौताअनुसार ०७० असार २९ मा काम सक्नुपर्ने थियो । तर छ वर्ष नाघिसक्दा पनि पुल निर्माण ५० प्रतिशत मात्र सकिएको छ । पुल समयमै सक्न स्थानीयले पटकपटक माग गर्दै आएका छन् । भूकम्पपछिका चार वर्ष निर्माणस्थलमा कामदारै नदेखिएको स्थानीय छन्दबहादुर अधिकारीले बताए । ‘अहिले अलिअलि काम भइरहेको छ,’ उनले भने, ‘तर सोचेअनुसारको प्रगति भएको छैन ।’
एघारकिलो–छेवेटार–भालुस्वाँरा सडक कार्यालयमा ठेकेदार कम्पनीले ०७७ जेठ २२ सम्म म्याद थपका लागि भन्दै पुस १७ मा निवेदन दर्ता गराएको छ । कार्यालयले पनि म्याद थपको प्रस्तावमा सहमति जनाएको छ । जरिवाना तिराएर काममा लगाउने कार्यालयको तयारी थियो । तर अब माग गरेको म्यादमा काम सके जरिवाना पनि तिर्नुनपर्ने भएको छ ।
बारपाक सडकअन्तर्गत २२ देखि ३० किलोमिटर खण्डको कालोपत्रेको जिम्मा पाएका ठेकेदार कम्पनी लोहनी एन्ड ब्रदर्सको दुई पटक म्याद थप भइसक्यो । ०७३ असार ३० मा ठेक्का सम्झौता गर्दा ०७४ असार ३१ मा काम सक्ने उल्लेख छ । ०७५ चैत १२ सम्म काम गर्ने गरी दोस्रो म्याद थप पनि भयो । तर अहिलेसम्म ६५ प्रतिशत मात्र काम सकिएको छ । उक्त कम्पनीलाई पनि ०७७ जेठ २२ सम्म पुनः म्याद थपको प्रस्ताव गरिएको छ ।
सम्झौताबमोजिम काम नगरी समय गुजार्ने जिल्लाका २६ योजनाको म्याद थपको प्रस्ताव गरिएको छ । पुस १३ को संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार म्याद थप गर्न लागिएको एघारकिलो–छेवेटार–भालुस्वाँरा सडक भएको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनअनुसार पुराना ठेक्काको हकमा बढीमा एक वर्ष म्याद थप गर्न लागिएको कार्यालयका इन्जिनियर राजेश यादवले बताए । ‘२० योजनाका आवश्यक कागजपत्र जुटाएर फाइल मन्त्रालय पठाइसक्यौं, छ वटाको प्रक्रिया मिलाउँदै छौं,’ उनले भने । यसका लागि निर्माण कम्पनीलाई पुस १४ देखि २८ सम्म निवेदन दिन भनिएको थियो । थपिएको म्यादमा पनि काम नसके पूरै जरिवाना लिएर काम लगाइने उनले बताए ।
नल्याङ भन्ज्याङ–छेकम्पार–चुम्चेत–सिर्दिबास सडक निर्माणका लागि ०६८ चैत २९ मा ठेक्का लागेको थियो । ९४ लाख लागतको आयोजनाको सम्झौताअनुसार ०६९ असार २० भित्रै सक्नुपर्थ्यो । तर सात वर्षमा ५२ प्रतिशत मात्र काम सकिएको छ । ‘त्यो योजनाको दुई पटक म्याद थप पनि भइसकेको छ,’ उनले भने, ‘अहिले ठेकेदारले एक वर्षको म्याद मागेका छन् ।’ ०७७ पुस १३ सम्म निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी कन्काई गोरखा जेभीले म्याद मागेको छ । समयमा काम नगरी समय गुजारेका ठेकेदार अहिले म्याद थपको निवेदन लिएर कार्यालय पुग्ने गरेका छन् ।
कन्काई गोरखा जेभीले मात्र सम्झौता अवधिमा काम नसकिएका पाँच योजनाका लागि म्याद थपको निवेदन बुझाएको छ ।

अर्थ वाणिज्य

सेञ्चुरीको ६.७५ प्रतिशत लाभांश

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई ६.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बिहीबार सम्पन्न सञ्चालक समिति ३०३औं बैठकले यस्तो निर्णय
गरेको हो ।

अर्थ वाणिज्य

भीमसेनस्थानमा सिभिलको शाखा

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– सिभिल बैंकले काठमाडौंको भीमसेनस्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रबार शाखा कार्यालय उद्घाटन गरे ।

अर्थ वाणिज्य

एनएमबीको द्विपक्षीय सम्झौता

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– एनएमबी बैंक र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल र नेपाल उद्यमशील महिला महासंघबीच शुक्रबार द्विपक्षीय सम्झौता भएको छ । संघका सदस्यको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिमा सम्झौता भएको हो ।

Page 13
समाचार

त्यसपछि थालियो बालुवाटार जग्गाको छानबिन

- कान्तिपुर संवाददाता

(काठमाडौं) - २०७५ जेठ दोस्रो साता एक व्यक्ति कालो झोलाभरि कागजात बोकेर सिंहदरबारस्थित गृहमन्त्री रामबहादुर थापाको सचिवालय पुगे । मन्त्री भेट्न पुगेका उनलाई उपसचिव डिजन भट्टराईले ‘मन्त्रीज्यू अलि व्यस्त हुनुहुन्छ, आज समय मिल्दैन होला’
भन्दै रोकिदिए ।
‘मन्त्रीज्यूलाई भन्नुपर्ने केही छ भने हामी खबर पुर्‍याइदिन्छौं,’ भनेपछि ती व्यक्तिले झोला टेबलमा राखेर कागजात छरपस्ट पार्दै भने, ‘ल हेर्नुस्, बालुवाटारमा यत्रो जग्गा हिनामिना भएको छ, सरकार केही हेर्दैन, सबैले मिलेर खाएका छन् ।’
उनको कुरा सुनेपछि भट्टराईले सरसर्ती कागजात हेरे । प्रधानमन्त्री, मन्त्री, अदालत, अख्तियार, मालपोत, भूमिसुधार सबैतिर काम गरिसकेका उच्चपदस्थ अधिकारीदेखि उद्योगी/व्यापारीका नाम त्यसमा थियो । पत्यार नलागेपछि उनले ‘यस विषयमा पछि कुरा गरौंला,’ भनेर फर्काइदिए । त्यसबेलाको कुरा स्मरण गर्दै भट्टराई भन्छन्, ‘मन्त्रीलाई भेट्न नपाएपछि त्यस दिन उहाँ मसिनो स्वरमा आक्रोश पोख्दै अर्को साता आउँछु
भनेर निस्किनुभयो ।’
त्यसको एक सातापछि तिनै व्यक्ति फेरि मन्त्री थापालाई भेट्न मन्त्रालय आइपुगे । ‘आज त भेट पाउँछु होला नि ?,’ सचिवालयमा पस्नेबित्तिकै उनले उपसचिव भट्टराईलाई भने । अघिल्लोपटक पत्यार नलागेको विषयमा फेरि कुरा उठेपछि भट्टराई झन्झट मान्दै भित्र गए ।
आफूले हेरेका कागजपत्र र भेट्न आएका व्यक्तिबारे मन्त्रीलाई सुनाए, ‘बालुवाटारमा जग्गा हिनामिना भएको छ, छानबिन गर्नुपर्‍यो भन्दै एक जना आएका छन् । हजुरलाई भेट्छु भनेका छन् ।’
मन्त्रीलाई भेट्न जानुभन्दा ५/७ वर्षअघिदेखि ती व्यक्ति जग्गा हिनामिनासम्बन्धी कागजात बोकेर अख्तियार, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालय धाइरहेका रहेछन् । कागजपत्र हेरेपछि सबैले जिब्रो टोक्दै ‘यस्तो कुरामा कहाँ हामीले हात हाल्न मिल्छ र, यो विषय पार लाग्दैन’ भन्दै पन्छिने गरेका रहेछन् । यही सिलसिलामा ती व्यक्तिले पारिवारिक कलहको सामना पनि गर्नुपरेको रहेछ ।
उपसचिव भट्टराई मन्त्री थापाको कार्यकक्षमा छिर्दा गृहसचिव प्रेमकुमार राई पनि सँगै थिए । मन्त्रीको जवाफ आउनुपहिले नै सचिव राईले थपे, ‘उनले भनेको कुरा सही हो । मैले पनि ती कागजपत्र हेरेको छु, मेरै जिल्लाका भाइ हुन् उनी ।’
शब्द तौलिएर बोल्ने गृहमन्त्री थापाले मुसुक्क हाँस्दै भने, ‘सही हो भने छानबिन गरौं न त, कारबाही प्रक्रिया अघि बढाऔं । के गर्नुपर्छ गरौंला, ढिला नगरौं ।’ मन्त्रीले ढाडस दिएपछि सचिव राईले भने, ‘एकपटक प्रधानमन्त्रीसँग पनि कुरा गर्ने कि ?’
मन्त्री थापाले ‘तपाईं पनि कुरा गर्नुस्, म पनि भन्छु । यति सिरियस विषय रहेछ, छानबिन गरेर जग्गा हिनामिना गर्नेमाथि कारबाही गर्नुपर्छ,’ भने । त्यसबेलासम्म झोलामा कागजात बोकेर आएका ती व्यक्ति बाहिर कुरिरहेका थिए । केहीबेरपछि मन्त्री र सचिवले उनलाई भित्र बोलाए । ‘कुरा जायज रहेछ, यो विषय छानबिन हुनुपर्छ, हुन्छ अब,’ मन्त्रीले यति भनिसकेपछि ती व्यक्तिको चेहरा बदलियो । केहीबेर कुराकानी गरेर उनी बाहिरिए ।
सचिव र मन्त्रीबीच डेढ सातापछि पुनः त्यही विषयमा छलफल भयो । ‘मैले प्रधानमन्त्रीज्यूसँग पनि भेटेर भनेँ । उहाँले तुरुन्त समिति गठन गरेर यो विषयको छानबिन हुनुपर्छ, को–को बस्ने भन्ने विषय टुंग्याएर मन्त्रिपरिषद्मा पेस गर्नू भन्नुभएको छ,’ सचिवले यति भनेपछि मन्त्री थापाले ‘ल समितिमा बस्नेको नाम छान्नुहोला । कसलाई समितिमा राख्ने हो, टुंग्याएर ल्याउनुहोला, म क्याबिनेटबाट पास गराएर काम अघि बढाउँछु,’ भने ।
त्यही बेला सचिव राईले ‘पूर्वसचिव शारदाप्रसाद त्रिताल हुनुहुन्छ, उहाँ र म एउटै जिल्लावासी हौं, इमान्दार हुनुहुन्छ । उहाँबाटै यो कामको टुंगो लाग्न सक्छ,’ भने । त्यसपछि जग्गा हिनामिनाबारे समिति गठन गर्ने निष्कर्षमा सचिव र मन्त्री पुगे । मन्त्री र प्रधानमन्त्रीसँग भएका कुराकानी सचिव राईले पूर्वसचिव त्रिताललाई फोनमै सुनाए । त्रितालले ‘ठीकै छ तर सदस्य चयन गर्ने जिम्मा मलाई दिनुस् वा मालपोतमा नबसेका मानिस हुनुपर्छ,’ भनेपछि राईले हुन्छ भनेर फोन राखे ।
यो प्रसंग असार पहिलो साताको थियो । त्यही कुराकानीका आधारमा गृह मन्त्रालयले त्रितालको संयोजकत्वमा पूर्वसहसचिव महेन्द्र थापा सदस्य र गृह मन्त्रालयका उपसचिव गणेश आचार्य सदस्यसचिव रहेको छानबिन समिति गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लग्यो । २०७५ असार १५ को मन्त्रिपरिषद्ले ‘ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिनासम्बन्धी छानबिन र कारबाही सिफारिस’ को कार्यादेशसहित समिति गठन गर्ने निर्णय गर्‍यो ।
समितिलाई २०२१ सालमा अधिग्रहण गरेर सरकारका नाममा ल्याइएको सुवर्णशमशेर र उनका आफन्तका नाममा रहेका जग्गा २०४९, ०६१, ०६६ र ०६९ सालका मन्त्रिपरिषद्, मालपोत, नापी र भूमिसुधार कार्यालयबाट निर्णय गराएर हड्पिएको थियो । त्यही जग्गाजमिनको आधिकारिकता र स्वामित्व पत्ता लगाउने र हिनामिना गर्नेमाथि कारबाही सिफारिस गर्ने समितिको मुख्य कार्यादेश थियो । त्रितालको समितिले मंसिर २६ बाटै काम थाल्यो । गृहमन्त्रीलाई भेट्न गएका ती व्यक्तिबाट सरकारसँग समेत नभएका महत्त्वपूर्ण कागजातहरू समितिले पायो । सिंहदरबार आगलागी र मालपोत कार्यालयका कर्मचारीले नष्ट गरेका कागजातका फोटोकपीका प्रमाणहरू पनि ती व्यक्तिबाटै समितिले पायो । कार्यादेशअनुसारका तथ्य र प्रमाण जुटाउने क्रममा जग्गा हिनामिना गर्ने कतिपय मानिससँग बयान (सोधपुछ) पनि लियो । पाँच महिना लगाएर समितिले प्रतिवेदन तयार पार्‍यो । करिब ११४ रोपनी जग्गा हिनामिना भएको र संलग्नमाथि थप अनुसन्धान तथा कारबाहीको सिफारिससहित मंसिर २६ मा समितिले प्रतिवेदन तयार पार्‍यो ।
त्यही दिन साँझ बालुवाटारमा प्रतिवेदन बुझ्ने गरी प्रधानमन्त्री ओलीले समय मिलाए । गृहमन्त्री थापा, गृहसचिव राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल साँझै बालुवाटार पुगिसकेका थिए । पूर्वनिर्धारित समयअनुसार समितिका तीनै सदस्य पुगे । प्रतिवेदन बुझाउनुअघि आधा घण्टाजति त्रितालले छानबिन क्रममा भएका घटना र जग्गा विवादबारे ब्रिफिङ गरे । ‘हामीले बडो दुःख र मिहिनेतका साथ काम गरेका छौं, हाम्रो मिहिनेत खेर नजाओस् । यसअघि तयार भएका थुप्रै प्रतिवेदन थन्किएर बसेका छन्, योचाहिँ त्यस्तो नहोस्,’ उनले भने । त्यसपछि प्रतिवेदन बुझेका प्रधानमन्त्री ओलीले हिनामिना गर्नेमाथि कारबाही अघि बढाउन कदम चाल्ने प्रतिबद्धता जनाए ।
औपचारिक/अनौपचारिक कुराकानीपछि खाना खाएर सबै आ–आफ्नो बाटो लागे । प्रधानमन्त्री ओलीले त्यसपछि गृह र प्रधानमन्त्री कार्यालयका अधिकारीलाई प्रतिवेदन अध्ययन गर्न लगाए । प्रतिवेदन बुझेको करिब तीन महिनापछि २०७५ फागुन २८ मा जग्गा हिनामिना गर्नेमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा दिने निर्णय सरकारले गर्‍यो, तर त्रिताल प्रतिवेदन सार्वजनिक गरिएन । त्यसपछि सञ्चारमाध्यममा जग्गा हिनामिना प्रकरणमा केन्द्रित रहेर लगातार समाचार आइरहे । मन्त्रिपरिषद्ले अनुसन्धानको जिम्मा दिएको करिब ११ महिनापछि २०७६ माघ २२ मा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री, तीन पूर्वसचिवसहित १७५ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले सरकारी जग्गा हिनामिनासम्बन्धी ललिता निवास प्रकरणको मुद्दा विशेष अदालतमा दायर गर्‍यो । सोही प्रकरणमा करिब १० महिना लगाएर सीआईबीले १७२ जनालाई किर्ते, ठगी र भ्रष्टाचार कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । त्रितालको नेतृत्वमा समिति गठन हुनुअघि जग्गा छानबिन गर्न माग गर्दै गृहमन्त्री थापालाई भेट्न जाने ती व्यक्ति अधिवक्ता युवराज कोइराला थिए । २०५५/५६ ताका उनी ललिता निवासका तत्कालीन भोगाधिकारीहरू रुक्मशमशेर राणा, शैलजा राणा, सुनिती राणा, हाटकशमशेर, हेमन्तशमशेर, हेमाद्रीशमशेर राणाका कानुनी सल्लाहकार थिए । २०४९ मा गैरकानुनी रूपमा जग्गा हत्याएपछि राणा परिवारले त्यो बेचबिखन तथा कित्ताकाट गर्न
कानुनी सल्लाहकारका रूपमा कोइरालालाई भित्र्याएका थिए ।
आफ्नो काम भइसकेपछि राणा परिवार र अरू भूमाफियाको मिलेमतोमा कोइरालालाई अलग्याइयो । गैरकानुनी रूपमा भएका सबै कामलाई नजिकबाट नियालिरहेका उनले जग्गा हत्याउन प्रधानमन्त्री कार्यालय, मन्त्रालय हुँदै भूमिसुधार, मालपोत, नापी, गुठीलगायतसँग सम्बन्धित कागजात आफैंसँग राखेका थिए । ती कागजात हात पार्न भूमाफियाले आफूलाई मार्ने धम्की पनि दिएको कोइराला बताउँछन् । कागजात राणा परिवार र भूमाफियाबाट गायब हुने त्रासका कारण कोइरालाले प्रहरीबाट अवकाशप्राप्त एक अधिकारीलाई राख्न दिएका थिए । ती कागजातका आधारमा कोइराला राणा परिवारले हडपेका जग्गाजमिन फिर्ता ल्याउनुपर्ने अभियानकै क्रममा गृहमन्त्री थापालाई भेट्न पुगेका थिए ।
छानबिन समितिका संयोजक त्रिताल युवराज कोइरालासँग भएका कागजात र उनले छानबिनका लागि लिएको पहल मुलुककै लागि दूरगामी भएको बताउँछन् । कोइरालालाई केही महिनाअघि सरकारले ललिता निवासको जग्गा छानबिनमा पुर्‍याएको योगदानकै कदरस्वरूप पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा सरकारी, सार्वजनिक तथा गुठीको जग्गा हिनामिनाको छानबिन गर्न गठित आयोगको सल्लाहकारका रूपमा नियुक्त गरेको छ । ‘प्रेमजीले जग्गा छानबिनका लागि मेरो नाम प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबाट अनुमोदन गराएर मलाई फोन गर्नुभएको रहेछ,’ २०७५ असारतिरको प्रसंगबारे त्रिताल भन्छन्, ‘त्यहींबाट सुरु भएको ललिता निवास प्रकरणको कोर्स जग्गा हिनामिना गर्ने र गर्न सहयोग गर्नेविरुद्ध अदालतसम्म प्रवेश गरेको छ । आशा गरौं, यसको नतिजा पनि देशको हितमा आउनेछ ।’
मुद्दा दायर गर्ने क्रममा कतिपयलाई प्रतिवादी नबनाइएको उनको टिप्पणी छ । त्रिताल समिति गठनको प्रसंगबारे निवर्तमान गृहसचिव राईले ‘जग्गाको मुद्दा अदालतमै गइसकेकाले अब केही भनिरहन नपर्ने’ बताए ।

समाचार

कुमार पौडेल हत्याविरुद्ध हुलाकबाट जाहेरी

- कान्तिपुर संवाददाता

सर्लाही (कास)– नेत्रविक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै उनकी आमा दुर्गादेवीले शुक्रबार हुलाकमार्फत जाहेरी दिएका छन् । प्रहरीले बिहीबार दर्ता गर्न नमानेपछि ७० वर्षीया दुर्गादेवीले सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, वाग्मती नगरपालिकाका मेयर भरत थापा र घटनामा संलग्न प्रहरीसहित दस जनाविरुद्ध हुलाकबाट जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी पठाएकी हुन् ।
जाहेरीमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि अनुसन्धानको माग गरिएको छ । मानवअधिकारकर्मी चरण प्रसार्इंका अनुसार जाहेरीमा छोराको गैरन्यायिक हत्या गरिएको उल्लेख छ । ‘छोराको हत्याको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा दुर्गादेवीसहित हामी जाँदा दर्ता गर्न नमिल्ने बताइएपछि हामीले हुलाकमार्फत दर्ता गरायौं,’ उनले भने, ‘सरकारी वकिलको कार्यालयमा पनि हुलाकमार्फत नै बुझाएका छौं ।’ जिल्ला प्रहरी कार्यालयले भने कुमार पौडेलको मुद्दामा अनुसन्धान भइरहेकाले अर्को मुद्दा दर्ता गर्न नमिल्ने जनाएको छ । ‘पहिलादेखि नै इलाका प्रहरी कार्यालय लालबन्दीमार्फत मुद्दा चलिरहेको छ, एउटामा अनुसन्धान चलिरहँदा भइरहेको अनुसन्धान प्रभावित हुन सक्छ, त्यही भएर अर्को मुद्दा दर्ता गरिनँ,’ प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने, ‘उहाँहरूको कुरा भने बुझेको छु ।’
गत असार ५ गते दिउँसो लालबन्दी नगरपालिका–१ स्थित लखन्देही खोलादेखि पूर्वको जंगलमा कुमारको गोली हानी हत्या गरिएको थियो । प्रहरीले कुमार इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ । विशेष ब्युरोबाट खटिएको घुमुवा टोलीले उनीमाथि गोली प्रहार गरेको थियो । पूर्वपश्चिम राजमार्गको नवलपुरबाट करिब ३ किलोमिटर उत्तरमा पर्ने घटनास्थल छेउछाउमा घाँस दाउरा गर्न गएका स्थानीयले दोहोरो बन्दुक नपड्केको कान्तिपुरलाई प्रतिक्रिया दिएका थिए । घटनास्थल रगतले लतपतिएको थियो । रगतलाई प्रहरीले माटोले छोपेको थियो ।
कुमारको मृत्युपछि गैरन्यायिक हत्या भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्षकै सांसदले संसद्मा आवाज उठाएका थिए । उनीहरूले कुमारलाई समातेर हत्या गरिएको भन्दै संसद्मा विरोध जनाएका थिए । कांग्रेसले संसद्समेत अवरोध गरेको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले पनि हत्या भएको निष्कर्षसहित यसमा आदेश दिने र पालना गर्नेमाथि कारबाही अघि अगाडि बढाउन सिफारिस गरेको थियो । आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी निरीक्षक कृष्णदेव साह तथा हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो । घटनामा संलग्न ती प्रहरीलाई अनुसन्धान गर्न गृह मन्त्रालयले समेत निर्देशन दिएको छ ।

समाचार

बंगलादेशका सेना प्रमुख नेपालमा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद शुक्रबार काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा अहमद नेपालको पाँचदिने भ्रमणका लागि आएका हुन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भ्रमणका दौरान उनले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर तथा केही महत्त्वपूर्ण पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम छ । अहमदले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति थापालाई भेट्ने कार्यक्रम छ । सोमबार नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछन् । उनी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

समाचार

नेपाल–जापान परामर्श संयन्त्र बैठक

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपाल र जापानबीच द्विपक्षीय परामर्श संयन्त्रको बैंठक शुक्रबार भएको छ । द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन उच्च स्तरमा भ्रमण आदानप्रदान गर्नुपर्ने बैठकको निचोड रहेको परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ । दुई पक्षले व्यापार, पर्यटन, लगानी, कृषि, पूर्वाधार, ऊर्जा, शिक्षा, मानव स्रोतलगायत विषयमा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए । संस्कृति र जनताबीचको सम्बन्धलाई जोड दिने विषयमा पनि बैठकमा कुरा भएको थियो ।

समाचार

घूससहित ट्राफिक प्रहरी पक्राउ

- कान्तिपुर संवाददाता


बुटवल (कास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले घूस रकमसहित २ जना ट्राफिक प्रहरीलाई पक्राउ गरेको छ । टिपर आउजाउमा सहजीकरण गरिदिने भन्दै चालकबाट ५ हजार घूस लिँदै गर्दा शुक्रबार ट्राफिक प्रहरी पोस्ट रामनगर बुटवलका असई सूर्यबहादुर अधिकारी पक्राउ परेका हुन् । उनले मासिक ५ हजारका दरले रकम चाहिने भन्दै यो महिनाको रकम लिएको अख्तियारको भनाइ छ । देवदहको खैरहनी ट्राफिक प्रहरी पोस्टका जवान छविलाल पोखरेल ३ हजार घूससहित पक्राउ परेका छन् । पोखरेल पनि टिपर चालकलाई आउजाउमा सहजीकरण गरिदिने भन्दै चालकबाट रकम लिँदै गर्दा पक्राउ परेका हुन् ।

Page 14
समाचार

कांग्रेसको विरोध गच्छदार बचाउन कि अरूलाई कारबाही गर्न ?

- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - जसलाई घाउ लाग्यो, पीडा त्यसैले बोल्छ’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि कांग्रेस नेता विजयकुमार गच्छदारले शुक्रबार संसदीय दल बैठकमा भने, ‘मैले तत्कालीन प्रधानमन्त्री (माधवकुमार नेपाल) को निर्देशनमा रीतपूर्वक प्रस्ताव लगेको हुँ । प्रक्रिया बाहिर गएको छैन । त्यहीअनुसार मन्त्रिपरिषद्मा पेस गरेको हुँ । सिंगो मन्त्रिपरिषद् दोषी हुने हो भने म जस्तोसुकै सजाय भोग्न तयार छु ।’
ललिता निवासको जग्गा प्रकरणमा दोषी ठर्‍याउँदै अख्तियारले मुद्दा दर्ता गरेपछि गच्छदारको सांसद पद स्वतः निलम्बनमा छ तर उनले दलको बैठकमा उपस्थित भएर आफूविरुद्धको अभियोजनको सफाइ दिए । अख्तियारले पूर्वाग्रह राखेर आफूविरुद्ध निर्णय लिएको भन्दै उनले पार्टी नेतृत्वप्रति सशक्त विरोधका लागि आग्रह गरे । उनको भनाइ सुनेपछि पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा ‘यतिकै छाड्न हुन्न, सशक्त प्रतिवाद गर्नुपर्छ’ भन्दै कस्सिए । अख्तियारले बदनियत राखेर सरकारको निर्देशनमा मुद्दा चलाएको भन्दै उनले प्रतिवाद सडक र सदन दुवै मोर्चाबाट हुने उद्घोषसमेत गरे । छोटो भनाइ राख्दै शुक्रबारको संसद् बैठक अवरोध गर्ने निर्णय देउवाले त्यहीँ सुनाए ।
ललिता निवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले दुई दिनदेखि सडकमा अवरोध गर्दै आएको छ । उसले सडकमा भ्रातृसंस्थालाई ओरालेको छ । नेविसंघ, तरुण दललगायतका भ्रातृसंस्थाका कार्यकर्ताले शुक्रबार माइतीघर मण्डलमा अख्तियार र सरकारविरुद्ध प्रदर्शन गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार सदनको अवरोध पार्टीको आगामी बैठकसम्म जारी रहनेछ । ‘त्यसपछि अवरोध जारी राख्ने या आन्दोलनलाई नयाँ मोड दिने भन्नेबारे पार्टी केन्द्रीय कार्यसमितिले निर्णय लिनेछ,’ उनले कान्तिपुरसँग भने । केन्द्रीय कार्यसमितिको बैठक माघ २७ गते बोलाइएको छ ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा लगाएकामध्ये गच्छदार ‘हाइप्रोफाइल’ नेता हुन् । राजनीतिक क्षेत्रबाट उनीसहित चार पूर्वमन्त्रीलाई मुद्दा परेको छ । त्यही प्रकरणमा नक्कली मोही खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्ने निर्णयको नेतृत्व लिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भने अख्तियारले मुद्दा लगाएको छैन । त्यहाँको जग्गा खरिदमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीविरुद्ध समेत मुद्दा दायर भएको छैन । यसैलाई अख्तियारको पूर्वाग्रह निर्णय भन्दै कांग्रेसले उसको संवैधानिक र स्वायत्त भूमिकामाथि प्र्रश्न उठाइरहेको छ ।
‘प्रस्ताव लैजानेलाई कारबाही, निर्णय गर्नेलाई उन्मुक्ति ?’ भन्दै कांग्रेस अख्तियार र सरकारविरुद्ध नै आक्रामक बनेको छ । स्वायत्त अख्तियारलाई कार्यकारीको छायामा राखेको भन्दै कांग्रेस सरकारप्रति आक्रामक देखिएको हो । नागरिक स्तरमा समेत अख्तियारको भूमिकालाई लिएर टीकाटिप्पणी भइरहेका छन्, जसले सदन र सडकमा कांग्रेसले सुरु गरेको विरोधलाई बल मिलेको छ । मन्त्रीले लैजाने प्रस्ताव मन्त्रिपरिषद्मा जानुअघि मुख्य सचिवकामा पुग्छ । मुख्य सचिवले रीतपूर्वक प्रक्रिया पुगे/नपुगेको हेरेर सुझाव दिने प्रचलन हुन्छ । मुख्य सचिवको सुझावअनुसार प्रस्ताव मन्त्रिपरिष्दमा प्रस्तुत हुन्छ । मन्त्रिपरिष्दमा प्रधानमन्त्रीले निर्णय भनेर मुख्य सचिवले ‘माइन्युट’ गरेपछि मात्रै औपचारिक निर्णय भएको मानिन्छ । ‘मन्त्रिपरिष्दको निर्णय प्रक्रियामा मन्त्रीको कुनै भूमिका हुँदैन । उसले प्रस्ताव लैजाने मात्रै हो,’ पूर्वमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘प्रधानमन्त्री र माइन्युट लेख्ने मुख्य सचिवले उन्मुक्ति पाउने तर प्रस्ताव लैजाने मन्त्री मात्रै पर्ने कुरा प्राकृतिक न्यायको सिद्धान्तको समेत विपरीत छ ।’
दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री देउवाको नेतृत्वको मन्त्रिपरिषद्ले सामाजिक सुरक्षाका क्षेत्रमा गरेको निर्णय मुख्य सचिवले माइन्युट नगरिदिएकै कारण कार्यान्वयनमा आउन नसकेको उदाहरण
दिँदै उनले भने, ‘ललिता निवास प्रकरणमा त्यतिबेलाका प्रधानमन्त्री र मुख्य सचिवले कसरी उन्मुक्ति पाउन सक्छन् ?’
मुद्दा दर्ता गरिएकै दिन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘लाल झन्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा त हुने होइन ?’ भन्दै अख्तियारको भूमिकाप्रति प्रश्न उठाएका थिए । कांग्रेस नेता अर्जुननरसिंह केसीले पूर्वाग्रहसहित प्रस्तुत हुँदा अख्तियारले विश्वसनीयता गुमाएको बताए । ‘के नेकपाका नेताहरू दूधले धोएका हुन् त ? एउटै केसमा मन्त्री पर्ने र निर्णय गर्ने प्रधानमन्त्री नपर्ने ? अख्तियारको यो कस्तो विभेद हो ?’ उनले भने, ‘अख्तियारको यो निर्णयप्रति हामीले मात्रै होइन, आमनागरिक र सरोकारवालाले पनि प्रश्न उठाएका छन् ।’ कांग्रेस नेताहरू गच्छदारको बचाउमा
मात्रै लाग्ने कि अरू दोषीलाई पनि कानुनी दायरामा ल्याउनका लागि दबाब दिने भन्नेमा अलमल देखिन्छन् ।
कांग्रेसभित्रै कतिपय नेताले गच्छदारको बचाउभन्दा पनि दोषीजति सबैलाई कानुनी दायरामा ल्याउनका लागि पार्टीले संघर्ष गर्नुपर्ने आवाज उठाउन थालेका छन् । ‘हाम्रो आवाज व्यक्तिको बचाउका लागि होइन, विधि र प्रक्रियाका लागि हो,’ नेता विश्वकर्माले थपे । उनका अनुसार यसैका लागि संसद्मा रहेका सबै विपक्षीसँग मिलेर कांग्रेसले विरोधलाई सशक्त बनाउन चाहेको छ ।

समाचार

‘विरोधीलाई तह लगाउने नियत’

- ऋषिराम पौड्याल

(काठमाडौं) - ललिता निवासको जग्गा प्रकरणमा कसुरदारलाई उन्मुक्ति दिएर पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई षड्यन्त्रपूर्वक तरिकाले भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै कांग्रेसले शुक्रबार प्रतिनिधिसभा चल्न दिएन । कांग्रेसले विरोधीलाई तह लगाउने सरकारको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाग्न खोजेको भन्दै टिप्पणीसमेत गरेको छ । अख्तियारले गच्छदारविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबार पनि संसद् अवरुद्ध गरेको थियो ।
प्रतिनिधिसभाका कांग्रेस सांसद मीन विश्वकर्माले फरक विचारलाई निस्तेज पार्ने खेलमा सरकारले अख्तियारलाई प्रयोग गरेको बताए । ललिता निवास जग्गा प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालय विस्तारका लागि गुरुयोजना प्रस्तुत गर्ने तत्कालीन मुख्यसचिवलाई उन्मुक्ति दिइएको उनको भनाइ थियो । ‘तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवलाई जोगाएर गच्छदारलाई मात्र मुद्दा चलाइएको छ,’ उनले भने, ‘जग्गा लिनेले लालपुर्जा फिर्ता गर्छु भनेर स्विकारोक्ति गर्दा कारबाही नगर्ने अचम्मको थिति अख्तियारले बसालेको छ,’ उनले भने, ‘चार वर्षअघि कुनै डाक्टरले चोरेको मिर्गौला फिर्ता गर्‍यो भने कारबाही हुन्छ कि हुँदैन ?’
नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता गर्ने सर्तमा कागज गराएर मुद्दा नचलाइएपछि विश्वकर्माले आक्रोश पोखेका हुन् । निर्णय प्रक्रियामा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव लीलामणि पौडेललाई पनि अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अख्तियारले मुद्दा चलाउँदा सरकारको उपलब्धि भन्नु विरोधीलाई थुन्ने प्रपञ्चमा अख्तियारलाई प्रयोग गरेको प्रमाणित हुनु हो,×’ विश्वकर्माले भने, ‘कांग्रेसलाई ठोक्ने र आफ्नालाई रोक्ने रणनीतिमा नियोजित रूपमा लागेको देखिएको छ ।’
अख्तियारले अधिकार दुरुपयोग गरेको विश्वकर्माको टिप्पणी थियो । ‘एउटै मन्त्रिपरिषद्बाट भएको निर्णयमा सहभागीलाई फरक–फरक व्यवहार कसरी हुन्छ ? कांग्रेस कानुनी राज्यको अवधारणालाई विश्वास गर्दै आएको छ । कांग्रेसले नै अख्तियार गठनको कानुन ल्याएको हो । यसलाई संवैधानिक आयोग बनाइयो । पदमा बसेकाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने हो तर यहाँ कानुनको उपहास भएको छ,’ उनले भने ।
संसद् बैठकको अध्यक्षता गरिरहेका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई पटक–पटक बस्न आग्रह गरेका थिए । कांग्रेस सांसदहरू बस्न नमानेपछि सभामुख सापकोटाले संसद्को क्षेत्राधिकारको विषय स्मरण गराए । उनले प्रतिपक्षले उठाएका विषयमा सम्बन्धित निकायको ध्यान गइसकेको बताए । छलफलबाटै सबै विषयको निकास आउने भन्दै उनले सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गरे । प्रमुख प्रतिपक्ष दलका सांसदहरू बस्न नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । पछि संसद् सचिवालयले सूचना टाँस गरेर आइतबारसम्म बैठक स्थागित गरेको जानकारी दिएको छ ।
कांग्रेस सांसद विजयकुमार गच्छदारको पद निलम्बन भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना प्रकाशन गरेर उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार निलम्बन गरिएको जनाएको छ । अख्तियारले संसद् सचिवालयलाई गच्छदारविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको जानकारी दिएपछि निलम्बनको सूचना जारी गरिएको हो । सूचनाअनुसार उनी मुद्दा दायर भएको दिनदेखि नै निलम्बनमा परेका छन् ।

मन्त्रीले अख्तियारको वकालत गरे ः महत
उदयपुर– कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वकालत सरकारका मन्त्रीले गरेको टिप्पणी गरेका छन् । उनले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकामा आपत्ति जनाए ।
‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेका कारण गच्छदारलाई दोषी देखाएर मुद्दा चलाइयो,’ उदयपुरको चौदण्डीगढी, बेल्टारमा शुक्रबार उनले भने, ‘निर्णय कार्यान्वयन गर्ने मन्त्रीलाई मुद्दा चलाउने अख्तियारको सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वकालत गरेकाले बदनियत देखिएको छ ।’ उनले सरकारको सल्लाहबमोजिमै अख्तियारले गच्छदारमाथि मुद्दा चलाएको आरोप लगाए ।

समाचार

अनि रोकियो इरानी मन्त्रीको नेपाल भ्रमण

- सुरेशराज न्यौपाने

(नयाँदिल्ली) - इरानका विदेशमन्त्री जवाद जरिफ नयाँदिल्लीमा दुई साताअघि भएको ‘रायसिना डायलग’ मा सहभागी भएर नेपाल हुँदै स्वदेश फर्कन चाहेका थिए । त्यसका लागि दुई महिनाअघि इरानी दूतावासले नेपाली पक्षलाई जानकारी गराएको थियो । उनको भ्रमणको मुख्य उद्देश्य इरानको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु रहेको देखिन्थ्यो । तर मन्त्री जरिफ नयाँदिल्लीबाटै फर्किए । किन त ? परराष्ट्र स्रोत भन्छ, ‘इरानकै आन्तरिक राजनीतिले गर्दा हो । सँगै नेपाली पक्ष पनि उत्साही भएन ।’
आर्थिक र राजनीतिक रूपमा नजिकको सम्बन्ध नभए पनि नेपाल र इरानबीचको दौत्य सम्बन्ध करिब सात दशक पुरानो हो । तर इरानी मन्त्रीको भ्रमण प्रस्तावले सुरुमा नेपाललाई असामञ्जसमा पारेको थियो । यस पछाडिको प्रमुख कारण थियो– महाशक्ति राष्ट्र अमेरिकाको इरानसँगको शत्रुतापूर्ण सम्बन्ध । विशेषगरी इरानका सर्वोच्च नेता अलि खामेनीपछिका दोस्रो शक्तिशाली जनरल कासिम सुलेमानी करिब एक महिनाअघि अमेरिकी फौजको आक्रमणमा मारिएपछि यी दुई मुलुकबीचको सम्बन्ध थप संकटपूर्ण बनेको छ । उक्त घटनाले इरानको घरेलु राजनीति मात्र तताएको छैन, मध्यपूर्वलाई नै तनावपूर्ण स्थितिमा धकेलिदिएको छ ।
अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध रहेको मुलुकका विदेशमन्त्रीलाई नेपालमा स्वागत गर्दा त्यसबाट सिर्जना हुन सक्ने भूराजनीतिक परकम्पप्रति परराष्ट्रका अधिकारीहरू सचेत थिए । त्यसमाथि परराष्ट्रका उच्च अधिकारीहरूको स्मृतिमा भेनेजुएला प्रकरणका सिर्जित अनावश्यक तनाव ताजै थियो । एक वर्षअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर अमेरिकाको खुला रूपमा आलोचना गरेपछि केपी शर्मा ओली
नेतृत्वको सरकार निकै अप्ठ्यारोमा परेको थियो ।
अमेरिकीलगायतका पश्चिमा राष्ट्रहरूको कदमको आलोचना गर्दै दाहालले ‘आन्तरिक मामिलाको हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ’ भनी विज्ञप्ति गर्दा प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डाभोसमा थिए । दाहालको वक्तव्यपछि काठमाडौंस्थित अमेरिकी दूतावासले चासो देखाउँदै परराष्ट्र मन्त्रालयसँग आधिकारिक धारणा नै मागेको थियो ।
दौत्य सम्बन्ध भएको मुलुक भएकाले विदेशमन्त्रीले भ्रमण गर्ने इच्छा देखाइसकेपछि सोझै अस्वीकार गर्न नमिले पनि नेपालले तयारीका लागि त्यति चासो देखाएन । इरानी विदेशमन्त्री जरिफ नयाँदिल्लीबाटै फर्किएपछि नेपालका परराष्ट्रका अधिकारीहरूले राहत महसुस गरेका थिए । ‘भेनेजुएला प्रकरणले अनावश्यक विवादमा तानेको थियो, त्यही भएर पनि यसपटक बढी सतर्कता अपनाइएको हो,’ परराष्ट्रका एक अधिकारीले भने । इरानी विदेशमन्त्रीले नेपाल भ्रमणमा चासो राख्नुका पछाडि अर्को एउटा घटना पनि जोडिएको छ । गत वैशाख अन्तिम साता विदेशन्त्री जरिफ इरानको तेल खरिदलाई निरन्तरता दिन भारतलाई मनाउने उद्देश्यका साथ दिल्ली ओर्लिएका थिए । अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी लगाएपछि भारतले समेत उसबाट तेल आयात बन्द गरेको थियो ।
भारत इरानको प्रमुख तेल निर्यातकर्ता थियो । भारतीय उच्च अधिकारीहरूसँगको भेट गरेर करिब २४ घण्टापछि उनी जापानको राजधानी टोकियो गएका थिए । जापान जाँदा इरानी पक्षले छोटो हवाई रुट खोजिरहेको थियो । त्यसका लागि नेपालको आकाशको प्रयोग राम्रो विकल्प थियो । यो रुट प्रयोग गर्दा नेपाल र चीनको मात्र अनुमति लिए पुग्थ्यो ।
अन्य रुट लामो हुनुका साथै धेरै देशबाट उडान अनुमति लिनुपर्थ्यो । दिल्लीस्थित इरानी दूतावासले आग्रह गर्‍यो र नेपाली पक्षले केही घण्टाभित्रै अनुमति दियो । स्रोतका अनुसार उक्त सहयोगका लागि इरानी विदेशमन्त्री जरिफले नेपाली पक्षको खुलेरै प्रशंसा गरेका थिए । उक्त घटनापछि नै इरानी विदेशमन्त्रीले नेपाल भ्रमणका
लागि चासो देखाएको स्रोतको अनुमान छ ।

समाचार

अर्काको जग्गा बेच्न खोज्ने पक्राउ

- कान्तिपुर संवाददाता

(वीरगन्ज) - सिमरा एयरपोर्ट नजिकैको १० धुर जग्गा गत सोमबार दुई जना अपरिचित व्यक्तिले बिक्रीका लागि नापजाँच गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय सिमराको टोलीले दुवैलाई पक्राउ गर्‍यो ।
पक्राउ परेका वीरगन्ज–१८ का बलराम रौनियार र बहुदरमाई–३ का सलिम मियाँबाट उनीहरूले नापजाँच गरिरहेको जग्गाको धनीपुर्जा बरामद भयो । बहुदरमाई–२ का सुनीलप्रसाद यादवको नाममा रहेको जितपुर सिमरा उपमनपा–२ को किनं ११३० को १० धुर जग्गाको धनीपुर्जाबारे प्रहरीले मालपोतलाई सोध्यो । मालपोतको अभिलेखमा किनं ११३० को उक्त जग्गा ज्ञानेश्वरी थपलिया त्रिपाठीको नाममा दर्ता थियो । ‘मालपोतबाट त्यो धनीपुर्जा नक्कली हो भन्ने थाहा भयो,’ इप्रका सिमराका डीएसपी गोविन्द पुरीले भने, ‘सरकारी सहीछाप किर्ते गरी जग्गाधनी पुर्जा बनाई बेच्नका लागि आएका रहेछन् ।’ थपलियालाई प्रहरीले खबर गरेपछि उनी पनि तीनछक परिन् । नक्कली जग्गाधनी सुनीलप्रसाद यादव पनि पक्राउ परेका छन् । डीएसपी पुरी भन्छन्, ‘सिमरा आसपासका क्षेत्रमा किर्ते गरी अरूको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गर्ने गिरोह सक्रिय भएको खुल्दै छ, हामीले निगरानी बढाएका छौं ।’

Page 15
खेलकुद

शीर्ष ६ को होड

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडबाट बाहिरिसकेका पूर्व विजेताहरू थ्रीस्टार र नेपाल पुलिस क्लबले शीर्ष ६ भित्र पर्ने प्रयासको एउटा खुट्किलोका रूपमा शुक्रबार आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । थ्रीस्टारले संकटा र नेपाल पुलिसले ब्रिगेड ब्वाइजलाई समान १–० गोलअन्तरले पराजित गरे ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीका अनुसार यो जितले उनको टिमलाई शीर्ष ६ मा सुरक्षित गरेको छ । २ चरणको खेल बाँकी हुँदा थ्रीस्टारको २० अंक भएको छ र एक खेल कम खेलेको मनाङ मर्स्याङदीमाथि १ अंकको अग्रता लिँदै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
‘आजको ३ अंक हाम्रा लागि महत्त्वपूर्ण थिया । यसले हामीलाई सुपर सिक्समा सजिलो बनायो । अब २ खेल बाँकी छ । हामीले यस लिगमा अधिकतम राम्रो पोजिसनका लागि प्रयास गर्ने हो । यो स्तरको टिमबाट जसरी नतिजाहरू आइरहेका छन् । त्यसबाट सन्तुष्ट छु,’ अधिकांश युवा खेलाडीलाई विश्वास गरेको थ्रीस्टारका प्रशिक्षक केसीले भने । जितका बाबजुद संकटाविरुद्धको खेलमा उनी आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्ट थिएनन् । भने, ‘जित त निस्कियो तर खेल अपेक्षाअनुसारको थिएन । यसअघिका खेलहरूमा जस्तो हाम्रा खेलाडीहरूले धेरै अवसर सिर्जना गर्न सकेनन् । संकटाले पनि उस्तै दबाब दिइरहेको थियो । पहिलो हाफमा विक्रम (लामा)ले लगभग गोल भइसकेको बल क्लियर गर्न सके ।’
संकटाका प्रशिक्षक विजय महर्जनले जित्न सकिने खेलमा पराजित हुनुपर्दा निराशा व्यक्त गरे । ‘हामीले ३ अंकका लागि खेलेका थियौं । अवसरहरू पनि पाएका थियौं । दुर्भाग्य गोल निस्कन सकेन । फुटबल राम्रो खेलेर मात्र हुँदैन जित्नका लागि गोल गर्न सक्नुपर्छ,’ उनले थपे, ‘प्रदर्शन दुई टिमबीच खास फरक थिएन । रक्षापंक्तिको हेलचेक्र्याइँमा गोल खानुपर्‍यो । त्यसपछि फर्कन कठिन भयो ।’
उनले पनि शीर्ष ६ नै आफूहरूको लक्ष्य रहेको बताए । हारपछि पनि संकटा ११ खेलबाट १५ अंकसहित छैटौं स्थानमा छ । ‘२ खेल बाँकी छ । हामी दुवै जित्ने प्रयासमा हुनेछौं । त्यसले मात्र पनि पुग्दैन अरूको नतिजा पनि हेर्नुपर्ने हुन्छ,’ उनले थपे । संकटाले लिगका बाँकी २ खेलमा दोस्रो स्थानको मछिन्द्र र अन्तिमको सरस्वतीसँग खेल्नेछ ।
थ्रीस्टारका लागि डिफेन्डर अनन्त तामाङले ६१ औं मिनेटमा निर्णायक गोल गरेका थिए । लाल रामाम्बियाको प्रहार संकटाका डिफेन्डर विष्णु सुनारको खुट्टामा लागेर फर्कँदा डिफ्लेक्टेट बलमा अनन्तले पेनाल्टी एरिया नजिकैबाट उत्कृष्ट गोल गरेका थिए । त्यसबाहेक थ्रीस्टारले खेलमा गोलको आकर्षक अवसर बनाउन सकेन । यसअघि पहिलो हाफमा संकटाले अग्रता बनाउने सुन्दर अवसर खेर फालेको थियो । राजेन्द्र रावलको पासमा अजेयी मार्टिन्सले गरेको हेडर थ्रीस्टारका गोलरक्षक प्रिसो जांगा बीट भइसकेपछि कप्तान विक्रम लामाले हेड गरी क्लियर गरिदिएका थिए ।

पुलिस १–० ब्रिगेड ब्वाइज
रेलिगेसनको खतरामै रहेको ब्रिगेड ब्वाइजलाई १–० ले पराजित गरेपछि नेपाल पुलिस क्लब ११ खेलबाट १७ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । लिगमा अन्तिम २ खेल बाँकी हुँदा पुलिसले शीर्ष ६ भित्र रहेर प्रतियोगिता अन्त्य गर्ने लक्ष्य पूरा गर्न प्रयासरत हुनेछ । तर पूरा लिग अवधिभर नै पुलिसले रक्षापंक्तिको समस्या ब्यहोरेको छ । ब्रिगेडबिरुद्धको जितपछि पत्रकार सम्मेलनमा पनि प्रशिक्षक अनन्त थापाले उही निराशा दोहोर्‍याए ।
‘आजको खेल सुरुमा राम्रो भएको थियो । लिड लिएपछि बढी दवाव महशुस भयो । रक्षात्मक कमजोरी पनि भयो । एक गोलको अग्रता जोगाउन चक्करमा टिम दवावमा आयो,’ जितका बाबजुद सन्तुष्ट नदेखिएका प्रशिक्षक थापाले भने, ‘शीर्ष ६ मा अझै सुरक्षित भइसकेका छैनौं । आगामी २ खेलमा सकारात्मक नतिजा ल्याउने प्रयासमा हुनेछौं ।’ पुलिसले मनाङ र फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ ।
पत्रकार सम्मेलनमा उपस्थित भएका ब्रिगेडका म्यानेजर अरविन्द गुरुङले हारका बाबजुद आफ्नो टिमको प्रदर्शनका निकै सन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यू–१८ का खेलाडीहरू हामीसँग धेरै छन् । उनीहरूले पुलिसजस्तो टिमसँग ७० प्रतिशत बल पोजिसनमा राखेर खेल्नु धेरै ठूलो कुरा हो । खेलमा हारजित हुन्छ, राम्रो खेलको तारिफ हारे पनि गर्न सकिन्छ । त्यस्तै खेल आज देखियो ।’ ११ खेलबाट ८ अंकसहित ११ औं स्थानमा रहेको ब्रिगेडलाई रेलिगेसनको खतरा टरिनसकेको उनको भनाइ छ । उनले अन्तिम २ खेलमा यस्तै प्रदर्शनलाई निरन्तरता दिन प्रयास गरिने बताए । सम्भावित खेल मिलेमतोबारे संकेत गर्दै उनले भने, ‘धेरै कुराहरू बोल्न मिल्दैन । हामी पारदर्शी फुटबलमा विश्वास गछौं ।’
खेलको २९ औं मिनेटमै पुलिसले अग्रता बनाएको थियो । निरकुमार राईले प्रहार गरेको कर्नरमा कप्तान भरत साहले बक्स भित्रबाट हेडमार्फत गोल गरेका थिए । त्यसयता ब्रिगेडले दबाब बनाएको थियो र केही अवसर पनि निस्केको थियो । तर गोल हुन सकेन ।


आजका खेल
हिमालयन शेर्पाबिरुद्ध च्यासल
११ः३० बजे
जावलाखेलबिरुद्ध फ्रेन्ड्स
१५ः ०० बजे
एन्फा कम्प्लेक्स
मनाङबिरुद्ध एनआरटी
१५ः ०० बजे
हलचोक मैदान

खेलकुद

खेल महोत्सवको तयारी

- कान्तिपुर संवाददाता

(बिर्तामोड) - बिर्तामोड खेलकुद महोत्सव माघ २७ देखि हुने भएको छ । फागुन २ सम्म चल्ने महोत्सवमा बिर्तामोड नगरपालिकाभित्रका ४० संस्थागत र ९ सामुदायिक गरी ४९ वटा विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनोट समेत गर्ने गरी प्रथम अन्तर विद्यालयस्तरीय नगर खेलकुद महोत्सव आयोजना गर्न लागेको नगर खेलकुद विकास समितिका अध्यक्ष टीका संग्रौलाले बताए ।
महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल, एथ्लेटिक्स, कराते, तेक्वान्दो, कबड्डी र बुद्धिचाल गरी ११ विधाको स्पर्धामा १६७ स्वर्ण, १६७ रजत र १४७ कांस्य पदकका लागि करिब एक हजार ७ सय विद्यार्थी खेलाडीबीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले जनाए । विभिन्न स्पर्धा सञ्चालनका लागि तालिम प्राप्त १२३ जना रेफ्री खटिने छन् । विजेता खेलाडीलाई ट्रफी र नगद पुरस्कार वितरण गरिनेछ । खेलहरू बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशाला, कनकाई मावि, नवोदय स्कुल, टावर टेम्पल स्कुल, महेन्द्र रत्न माविका खेल मैदानमा हुनेछन् । महोत्सव सम्पन्न गर्न १० लाख ७१ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ ।
महोत्सवमा लागि नगर खेलकुद विकास समितिको ५ लाख, बिर्तामोड शिक्षा शाखाको २ लाख ५० हजार तथा प्याब्सन/एन–प्याब्स र बिर्तामोड नगरपालिकाले एक–एक लाख रुपैयाँ उपलब्ध गराएका छन् । महोत्सवको बिर्तामोड नगरपालिका, नगर खेलकुद विकास समिति, प्याब्सन र एन–प्याब्सनले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

खेलकुद

राष्ट्रपति शिल्डको चटारो

- कान्तिपुर संवाददाता


म्याग्दी (कास)– जिल्लाका सबै स्थानीय तहलाई विद्यालय स्तरीय खेल महोत्सव मानिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकाउने चटारो छ । मंगला र रघुगंगा गाउँपालिकाले आगामी फागुन १, बेनी नगरपालिकाले फागुन २ र अन्नपूर्ण गाउँपालिकाले फागुन ४ देखि अन्तर माध्यामिक विद्यालयस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दैछन् ।
मालिका गाउँपालिकामा दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगिता जारी छ । दुर्गम धौलागिरी गाउँपालिकाले भने गत पुसको कठ्यांग्रिने जाडोमै प्रतियोगिता सम्पन्न भयो । जिल्ला समन्वय समितिका संयोजकत्वमा फागुन ८–११ गतेसम्म बेनीमा जिल्ला स्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता आयोजना गर्ने मिति तय भएपछि पालिकालाई प्रतियोगिा सम्पन्न गरी सहभागी विद्यार्थी छनौट गर्नुपर्ने चटारो परेको हो । ‘जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति तय भइसकेको अवस्थामा स्थानीय तहलाई तत्काल प्रतियोगिता गर्नुपर्ने बाध्यता छ । सामान्यतः सबै विद्यालयले प्रतियोगिताको तयारी गरेका छन्,’ बेनी नगरपालिकाका खेलकुद संयोजक समेत रहेका जिल्ला खेलकुद विकास समतिका अध्यक्ष कृष्णकुमार विकले भने, ‘राष्ट्रपति खेल प्रतियोगिताले म्याग्दीबाट अरुण शाही, कमला पुनसमेत राष्ट्रिय खेलाडी उत्पादनमा योगदान छ ।’
राष्ट्रपति खेल प्रतियोगितामा सबै स्थानीय तहले छात्र/छात्रा तर्फको भलिबल, एथलेटिक्स र कवड्डी खेल विधाका १५ खेलमा प्रतियोगिता गराएका छन् ।

खेलकुद

पूर्वाधार उपयोगको चिन्ता

- दुर्गालाल केसी

(दाङ) - आठौं राष्ट्रिय खेलकुदका महत्त्वपूर्ण खेलहरू दाङमा हुने भएपछि हतारहतार संरचना बने । महिला फुटबल र एथलेटिक्स खेलका लागि बेलझुन्डी रंगशाला रातारात निर्माण भयो । निर्माण पूरा नहुँदै खेलकुद प्रतियोगिता सकियो । अहिले पनि रंगशालाको निर्माण जारी छ । गत वैशाखमा भएको राष्ट्रिय खेलकुदले जिल्लामा खेलको माहोल नै बेग्लै बनायो । राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरू दाङमा जुटे । खेलकुद संरचना निर्माणमा करोडौं लगानी भयो । ती संरचना अब कसरी उपयोग र संरक्षण गर्ने भन्ने चिन्ता बढेको छ । बेलझुन्डीमा सिन्थेटिक प्यारापिटसहितको रंगशाला बनेपछि जिल्लामा खेलकुदको छुट्टै रौनक छाएको छ । रंगशाला निर्माणको काम नसकिए पनि अहिले निरन्तर विभिन्न खेलकुदहरू भइरहेका छन् ।
राष्ट्रिय खेलकुदको समयमा फुटबल मैदान, नाली, साधारण प्यारापिट र सेन्थेटिक एथलेटिक्स ट्र्याक निर्माण गरिएको थियो । भीआईपी प्यारापिट, खेलाडी चेन्जिङ रुम, बैठक रुम, भीआईपी तथा मिडिया घर र मैदानवरिपरि घेराबार निर्माणको काम अहिले चलिरहेको छ । गत असार ७ मा सम्झौता भएको रंगशाला निर्माणको समय गत मंसिर ८ मा सकिएको थियो । फेरि समय थप गरी जेठ मसान्तसम्म लम्ब्याइएको थियो । त्यतिबेलासम्म पनि काम नसकिएपछि अहिले फेरि चैतसम्म म्याद थपिएको छ । २४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँको लागतमा रंगशाला निर्माण भइरहेको छ । बेलझुन्डीको रंगशाला काठमाडौंको दशरथ रंगशालापछि सिन्थेटिक रनिङ ट्र्याक भएको दोस्रो ठूलो हो । सिन्थेटिक ट्र्याकमा लचकदार रबर हुने भएकाले खेलाडीलाई दौडन सजिलो हुन्छ । सिन्थेटिक ट्र्याक चार सय रनिङ मिटरको छ, जसमा एकसाथ आठ खेलाडी दौडन मिल्छ । रनिङ ट्र्याकभित्र १ सय ६ मिटर लम्बाइ र ६८ मिटर चौडाइको खेलकुद मैदान छ ।
आठौं खेलकुदका क्रममा यो रंगशालासहित जिल्लामा पहिलोपटक खेलकुदका धेरै ठूला संरचना निर्माण भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । ‘एकसाथ धेरै संरचना तयार भएका छन् । यसले खेल गतिविधिलाई धेरै सहयोग पुगेको छ,’ उनले भने, ‘जिल्लामा खेलका लागि पर्याप्त संरचना भइसकेका छन् । यसले खेलाडीलाई पनि उत्साह पुगेको छ ।’ संरचना बन्दै गर्दा दाङमा सात राष्ट्रिय खेल, आठ क्षेत्रीय खेल र पाँचवटा प्रदेश स्तरीय खेल भएको डाँगीले बताए । दाङले मध्यपश्चिम स्तरीय खेलमा प्रथम र प्रदेश स्तरीयमा दोस्रो स्थान हासिल गरेको उनले बताए । पछिल्लो चार वर्षमा मात्रै दाङमा खेलकुद संरचनाका लागि करोडौं लगानी भएको उनले बताए । विभिन्न ठाउँमा साना खेलकुद मैदान पनि बनेको डाँगीले जानकारी दिए । विभिन्न गाउँ र विद्यालयमा ५ देखि २५ लाखसम्मको लगानीमा खेलमैदान बनेको उनले बताए ।
खेलाडी उत्साहित
बेलझुन्डी रंगशाला बनेपछि एथलेटिक्स र फुटबल खेलमा धेरै नै सहजता भएको छ । नियमितजसो खेल खेल्न र विभिन्न प्रतियोगिता सञ्चालन गर्न रंगशालाले सहज बनाएको तुलसीपुरका एथलेटिक्स खेलाडी सिमान पाण्डेले बताए । १३ औं सागमा सहभागी पाण्डे आठौं राष्ट्रिय खेलकुदमा चार सय मिटरको रिलेमा प्रथम भएका थिए । नियमित अभ्यास र खेलकुद प्रतियोगिताका क्रममा रंगशाला उपयोग भइरहेको उनले बताए । ‘प्रतियोगिताहरू नियमित भइरहन सकेमा खेलाडीलाई थप हौसला हुने थियो । पहिले खेलमैदान थिएन । अहिले यस्तो व्यवस्थित रंगशाला बनेको छ,’ उनले भने, ‘यसले खेलकुदका लागि उत्साहजनक वातावरण निर्माण गरेको छ । नियमित खेलहरू हुन सकेनन् भने रंगशालाको प्रयोग हुन सक्दैन ।’
रंगशालालाई नियमित अभ्यास गर्नेभन्दा खेलकुद प्रतियोगिताका लागि मात्रै प्रयोग गर्नुपर्ने फुटबल संघका जिल्ला अध्यक्ष सुशील श्रेष्ठले बताए । ‘रंगशालामा नियमित प्रशिक्षण गर्दा दूबो मर्ने र अन्य संरचना बिग्रने समस्या हुन्छ । सधैँ प्रयोग गर्न सकिँदैन,’ उनले भने, ‘अभ्यास गर्ने अन्य मैदान हुनुपर्छ । यसका लागि हामीले आवाज पनि उठाइरहेका छौं ।’ रंगशाला भएपछि खेलाडीको मनोबल बढिरहेको श्रेष्ठले बताए । ‘खेलकुद संरचना हाम्रा गहना हुन् । यिनलाई कसरी बचाउने भन्ने चिन्ता हो,’ उनले भने, ‘जिल्लामा ठूला प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । खेलका टिम बलिया हुँदै जान्छन् ।’ खेलकुद संघका कार्यालय पनि रंगशालामा राख्न सकेमा थप संरचना बन्ने र नियमित खेलका गतिविधि हुन सक्ने उनले बताए । ‘जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेल सञ्चालन गर्न खेलकुदको नियमित प्रशिक्षणको वातावरण हुनुपर्छ,’ उनले भने, ‘गाउँगाउँमा सानातिना मैदानमा खेल्ने गरिएको छ । त्यस्ता मैदानमा उपयुक्त संरचना नहुँदा समस्या छ ।’ ग्रामीण भेगबाट कसरी खेलाडी तयार पार्ने भन्नेमा ध्यान दिइरहेको उनले बताए । यसका लागि हरेक स्थानीय तहमा खेलकुदका संरचना तयार हुनुपर्ने श्रेष्ठले बताए ।
राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको वर्गीकरणमा दाङ क श्रेणीमा परे पनि खेलकुद संरचना र गतिविधिहरू सन्तोषजनक नभएको खेलाडी तथा खेलकुद पत्रकार मञ्चका जिल्ला अध्यक्ष लक्ष्मण बस्नेतले बताए । ‘आठौं राष्ट्रिय खेलकुदका क्रममा लमही, घोराही र तुलसीपुरको सहरी क्षेत्रमा केही संरचना बने पनि अधिकांश स्थानीय तहमा मापदण्डअनुसारका संरचना छैनन्,’ उनले भने, ‘खेलकुद विकासमा खेल संरचनाको ठूलो भूमिका हुन्छ तर बनेका संरचना पनि संरक्षणको पर्खाइमा छन् ।’ खेलाडीहरूको उत्साह बढाउन स्थानीय तहले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बस्नेतले बताए । स्थायी तथा स्वयंसेवी प्रशिक्षकहरूको खोजी गरी नियमित प्रशिक्षण सञ्चालन हुनुपर्नेमा यसतर्फ कसैको चासो नगएको उनले बताए । ‘खेलका संरचनाले खेलाडीलाई उत्साहित बनायो तर खेलकुदका गतिविधि नै छैनन्,’ उनले भने, ‘बनेका संरचना पनि प्रयोगमा आउन नसक्नु विडम्बना हो ।’ खेलकुदको दीर्घकालीन योजना बनाएर काम गर्ने र खेलाडीको मनोबल उच्च राख्ने गरी नियमित खेल गतिविधि सञ्चालन गर्न सक्ने नेतृत्वको अभाव खड्किरहेको उनले बताए ।
संरक्षणको चिन्ता
राष्ट्रिय खेलकुदकै क्रममा लमहीस्थित क्रिकेट मैदानमा १ करोड लगानीमा दूबो रोप्ने, नाला बनाउने, प्यारापिट र चेन्जिङ रुम बनाउने काम भयो । अहिले पनि राष्ट्रिय खेलकुद परिषद्बाट एक करोड बजेट परेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । आठौं खेलकुदमा लमही क्रिकेट मैदानमा महिला क्रिकेट भएको थियो । पहिले मेला महोत्सव लाग्ने क्रिकेट मैदान खेल्नयोग्य भएको थियो । राष्ट्रिय खेलकुदका कारण पहिलोपटक जिल्लामा खेलकुद संरचना व्यवस्थित बनाउने अवसर मिले पनि यसको संरक्षणमा भने समस्या रहेको जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले बताए । ‘वर्षौंदेखि अलपत्र परेका खेल मैदान खेल्नलायक भएका थिए तर यसको संरक्षणमा कसैको चासो भएन । संरचना संरक्षण गर्ने जिम्मेवार निकाय कोही भएन,’ उनले भने, ‘स्थानीय तहले पनि ध्यान दिएन । अन्य कुनै निकायले पनि चासो लिएको छैन । लमही क्रिकेट मैदानमा बनेका पिचहरू खेल्न नमिल्ने भइसकेका छन् ।’
एकैपटक ठूलो लगानी गर्ने, त्यसपछि कसैले चासो नदिने समस्या रहेको मजगैयाले बताए । ‘बनेका संरचना संरक्षणमा तत्कालै जिम्मेवार निकायले चासो दिनुपर्छ । खेलाडीहरूले मात्रै चासो दिएर भएन, संस्थागत संरक्षणको आवश्यकता छ,’ उनले भने, ‘बनेका संरचना संरक्षण हुन सकेनन् भने लगानी खेर जान्छ । त्यतिबेला बनेका सबै संरचना कसले संरक्षण गर्ने भन्ने अन्योल देखिन्छ ।’ राष्ट्रिय खेलकुदका क्रममा विभिन्न कभर्ड हल पनि बने । ५० लाखमा घोराहीको नवलपुरमा बास्केटबल कोर्ट बन्यो । १ करोड ८८ लाख रुपैयाँमा तुलसीपुरमा कराँते कभर्डहल तथा प्रशिक्षण भवन तयार भयो । तुलसीपुरको कभर्ड हल बन्दाबन्दै कराँते खेल भएको थियो । अहिले कभर्ड हलको अन्तिम काम सम्पन्न भइसकेको छ । अझै कम्पाउण्ड र प्यारापिट बनाउन बाँकी रहेको छ ।
आठौं खेलकुदमा घोराहीको कभर्ड हलमा टेबुलटेनिस र व्याडमिन्टन तथा घोराहीकै बास्केटबल कोर्टमा पुरुष र महिला बास्केटबल खेलहरू भएका थिए । संरचनाहरू तयार भए पनि नियमिति प्रतियोगिताहरू हुन नसकेको कराँते संघका जिल्ला अध्यक्ष हरि घर्तीले बताए । ‘संरचना बनेका छन् तर यति नै पर्याप्त छैनन् । भएका पनि राम्रोसँग उपयोग गर्न सकिएको छैन,’ उनले भने, ‘नियमित प्रतियोगिता नभएकाले भएका संरचनाले पनि उमंग थप्न सकेका छैनन् । प्रतियोगिताहरू भइरहन सकेमा मात्रै खेल संरचनाको
उचित प्रयोग हुन्छ ।’

Page 16
खेलकुद

परिवर्तित रूपमा नेपाल

- विनोद पाण्डे

(काठमाडौं) - आईसीसी क्रिकेट विश्वकप लिग २ मा पहिलो अंकको खोजिमा रहेको नेपालले शनिबार शीर्ष स्थानको अमेरिकासँग खेल्दा घरेलु टोली केही परिवर्तित देखिने छ । सन् २०२३ को विश्वकप छनोटको आधार रहेको प्रतियोगिताको पहिलो खेलमा ओमानसँग बुधबार १८ रनले पराजित भएपछि नेपाल रणनितिक हिसाबमा मात्र नभई बाध्यताका कारण पनि परिवर्तन गर्न लागेको हो ।
अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ५५ रन बनाए पनि १ सय ९८ रनको लक्ष्य लिएर आएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो । उनै भरपर्दा शरद चोटका कारण खेल्न नसक्ने भएपछि नेपाली टोली बाध्य भएर परिवर्तित रूपमा आउन लागेको हो । १० दिन आराम गर्न पर्ने भएकाले शरदले शृंखलाका बाँकी खेल गुमाउने भएका हुन् ।
उनको स्थानमा ओपनिङ ब्याट्सम्यमान सुवास खकुरेललाई ल्याइएको छ । सुवास नेपाली टोलीमा रहेका वैकल्पिक खेलाडी हुन्, त्यसैले उनलाई टोलीमा बोलाइएको छ । वैकल्पिक खेलाडीलाई राख्न क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग औपचारिक पत्रचार गरिसकेको छ । सुवासको स्वीकृति पत्र अझै आउन बाँकी रहेको कप्तान ज्ञानेन्द्र मल्ल बताउछन् । सुवासले बिहीबार र शुक्रबार त्रिवि क्रिकेट मैदानको नेट्समा राम्रो समय बिताएका थिए ।
यसले उनी शनिबार हुने अमेरिकासँगको खेलमा खेल्ने निश्चित गर्छ । सुवासको आगमनले नेपाली टोलीमा अर्को परिवर्तन ल्याउने छ । सुवास कप्तान ज्ञानेन्द्रसँग सम्भवत ओपनरको रुपमा आउने छन् । ओमानसँग नेपालले ब्याटिङमा केही जोखिमपूर्ण निर्णय लिएको थियो । ज्ञानेन्द्रसँगैं पूर्व कप्तान पारस खड्का ओपनिङमा ब्याटिङ गर्न आएका थिए । ५० ओभरको खेलमा पहिलो पटक ओपनिङ ब्याटिङमा आएका पारस ३ रनमै आउट भएका थिए । ज्ञानेन्द्र र सुवास ओपनिङमा आएमा पारसले तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् ।
‘अमेरिकाले राम्रो खेल्दै आएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेपछि उनीहरूको टोलीमा धेरै परिवर्तन आएको छ, अझै बलियो भएर आएको छ । प्रदर्शन पनि राम्रो गरिरहेको छ, त्यसको प्रमाण उनीहरू लिग २ को शीर्ष स्थानमा रहेर देखाइसकेको छ,’ ज्ञानेन्द्रले भने, ‘हाम्रो स्पिन बलिङले उनीहरूलाई समस्यामा पारेर त्यसको फाइदा लिनुपर्छ भन्नेमा छौं ।’ अविनाश बोहरा वा रोहितकुमार पौडेलको स्थानमा देब्रेहाते स्पिनर ललितनारायण राजवंशी प्लेयिङ ११ बाट खेल्ने सम्भावना बलियो छ । नेपाली टोलीमा हुन लागेको यो अर्को परिवर्तन हो ।
एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका मध्यम गतिका बलर अविनाशले राम्रो बलिङ गरे पनि कुनै विकेट लिन सकेका थिएनन् । मध्यक्रममा खेलेका रोहित पहिलो बलमै पेभेलियन फर्केका थिए । अमेरिका स्पिनमा कमजोर देखिएकाले नेपाल एक अतिरिक्त स्पिनर खेलाउन आतुर देखिन्छ । अर्का देब्रेहाते स्पिनर सुसन भारीले ओमानसँगको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा प्रवेश गर्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले दुई बलको अन्तरमा प्रमुख दुई विकेट लिदा ओमान ५७–५ को स्थितिमा पुगे पनि नेपालले बलिङ र ब्याटिङबाट त्यसको फाइदा उठाउन सकेन् ।
‘ब्याटिङमा केही सोच्नुपर्ने विषयहरू छन् । ओपनिङमा हामीले टिकेर खेलेर राम्रो सुरुआत गर्नुपर्नेछ । राम्रो सुरुआत दिन सक्यौं भने मध्यक्रमलाई निकै बल पुग्छ । ओपनिङ जोडीले ३०–४० रन नै भए पनि जोड्यो भने हामीले त्यसलाई राम्रो स्कोरमा लगिरहन सक्या छौं,’ ज्ञानेन्द्र आफ्नो टोलीको कमजोर ब्याटिङ पक्ष केलाउदै भन्छन्, ‘बाउन्स बलमा हामीले विकेट गुमाइरहेका छौं । अर्को २–३ ओभरको भिन्नतामा महत्त्वपूर्ण विकेट झरिरहेको छ । यसले टिमलाई अझ दबाब दिएको छ । त्यसले मध्यक्रममा पनि केही साझेदारी चाहिएको हो ।’
नेपाल भ्रमणलाई निस्केदेखि अमेरिकाले गतिलो प्रदर्शन गर्न सकेको छैन । विशेष गरी स्पिनरका अगाडि अमेरिकाको ब्याटिङ पतन हुदैं आएको छ । नेपाल आउनु अघि भारतको मुम्बईमा तीन अभ्यास खेलमा अमेरिका सबैमा पराजित भएको थियो । त्यसपछि नेपाल ११ सँगको अभ्यास खेलमा अमेरिका थप धरायसी भएको थियो । नेपाल ११ लाई १ सय ११ रनमा अलआउट गरेको थियो । जबाफमा आएको अमेरिका ७४ रनमै खुम्चिएको थियो । देव्रे हाते स्पिनर सागर ढकालले मूलपानीको कठिन विकेटमा चार विकेट लिएर अमेरिकालाई नेपाली स्पिनरको प्रभाव देखाएका थिए ।
त्यहि खेलमा ओपनरको रुपमा खेलेको सुवास ५२ रन बनाई अविजित रहेका थिए । चोटका कारण १८ महिना मैदान बाहिर रही दुई महिनाअघि पोखरा प्रिमियर लिगबाट फर्किएपछि नै सुवास राष्ट्रिय टोलीमा फर्किन सफल भएका हुन् । अमेरिकासँग विशेष गरी सुवास खकुरेलले राम्रो खेल्दै आएका छन् । नेपालले अमेरिकासँग विजय हात पारेको ५ खेलमा सुवासले ३ मा म्याच विजयी जस्तै इनिङ्स खेलेका छन् । अमेरिकासँग नेपालले ३ खेल हारेको छ भने ३ खेल अनिर्णीत भएका छन् । २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा सुवासले अमेरिकासँग मलेसियामा खेलेको १ सय १५ रनको इनिङ्स नेपाली खेलाडीको ५० ओभरको खेलमा अहिले पनि व्यक्तिगत उच्च स्कोर हो । त्यही प्रतियोगिताको फाइनलमा नेपालले अमेरिकामाथी ८ विकेटको विजय हात पार्दा सुवासले अविजित ४० रन बनाएका थिए । उनको यो फर्म २०१४ को डिभिजन ३ मा पनि जारी रहयो । सुवासको अविजित ४९ रनमा नेपालले अमेरिकामाथी डकवर्थ लुइस पद्धतिमा १० रनको विजय हात पारेको थियो ।
अमेरिका बिहीबार पहिलो खेलमा २ सय १३ रन बनाए पनि ओमानसँग ६ विकेटले पराजित भएको थियो । ओमानले अन्तिम ओभरमा विजय हात पार्दै त्रिकोणात्मक शृंखलामा लगातार दुई जित निकालिसकेको छ । रुस्ती थेरोन, कप्तान सौरभ नेत्राभाल्कर र इल्मोर हुचिन्सनको मध्यम गतिका बलिङमा भर परेको अमेरिकाले ओमानको ब्याटिङलाई हल्लाउन सकेको थिएन् । तीव्र बलिङमै नेपालको ब्याटिङ कमजोरी रहेको तथ्यसँग परिचित रहेको अमेरिकाले यही आक्रामणलाई निरन्तरता दिन सक्छ । यस्तोमा अली खानलाई अमेरिकाले सबैभन्दा बढी गुमाउने छ । क्यारेबियन प्रिमियर लिग र अबुधावी टी १० खेलिसकेका तीव्र बलर खानले अमेरिकालाई डिभिजन ४ बाट एकदिवसीय अन्तर्राष्ट्रियसम्म ल्याउन ठूलो भूमिका खेलेका थिए । तर उनी नेपाल आएका छैनन् ।
ओमानविरुद्ध अर्धशतक बनाएका इयान हल्यान्डले इंग्लिस काउन्टी टोली हयाम्पसायरबाट खेलिसकेका छन् । वेस्ट इन्डिजबाट एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका जेभियर मार्सल अहिले अमेरिकाका ओपनिङ ब्याट्सम्यान हुन् । नेत्राभाल्कर भारतमा रणजी खेलेपछि अमेरिका लागेका खेलाडी हुन् । स्टेभन टेलर र आरोन जोन्ससँग पनि क्यारेबियन प्रिमियर लिग खेलिसकेको अनुभव छ । अमेरिकाको आशा यही खेलाडीमा छ । २०१३ मा टेलरले नेपालविरूद्ध डिभिजन ३ मा बर्मुडामा १२ चौका र १२ छक्का प्रहार गरी १ सय ६२ रन बनाएका थिए । दक्षिण अफ्रिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थेरोनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स ११ पञ्जाबबाट खेलिसकेका छन् । अमेरिकासँग नेपालले खेल्दा त्रिवि क्रिकेट मैदान कीर्तिपुर १५ हजार दर्शकले भरिने सम्भावना छ । यो स्थितिमा अमेरिकालाई खेल्न सजिलो हुने छैन ।
‘नेपालले ओमानसँग खेलेको खेल हेरेर हामीले धेरै सिकेका थियौं, ओमानसँगको खेलपछि पनि हाम्रो टोलीमा सुधार्नुपर्ने धेरै छ,’ अमेरिकाका प्रशिक्षक जिम्मी पेनेटले भरिभराउ दर्शकमाझ खेल्नु पर्ने स्थितिमा भने, ‘मेरो भूमिका भनेको मैदानभित्र खेलाडीलाई तयार पार्नु हो । तर हाम्रा खेलाडीहरू ठूलो दर्शकमाझ खेल्नलाई उत्साहित छन् । रुस्टी थेरोनले आईपीएल खेलिसकेका छन् । अरु पनि विभिन्न प्रतियोगिता खेलेका अनुभवी भएकाले उनीहरूलाई दर्शकको भीडमा खेल्ने अनुभव छ ।’ कप्तान नेत्राभाल्कर नेपाली दर्शकका माझ खेल्न पाउदा उत्साहित छन र यसलाई चुनौतीका रूपमा पनि लिन्छन् ।
अमेरिकालाई बिहानको शीतमा खेल्न गाह्रो भएको थियो र ओमानले दिउँसोको सत्रमा आरामदायी हिसाबमा ब्याटिङ गरेको थियो । यो स्थितिसँग परिचित अमेरिका टस जितेमा फिल्डिङ गर्न नै रमाउने छ । ओमानसँगको हारका बावजुद पनि अमेरिका शीर्ष स्थानमा छ । अमेरिकाले ९ खेलमा ६ मा विजय हात पारेको छ । समान १२ अंक भए पनि ओमान रनरेटमा अमेरिकाभन्दा पछाडि छ ।
अमेरिका पछिल्लो पल्ट २०१० मा नेपाल आएर विश्व क्रिकेट लिग डिभिजन ५ मा खेलेको थियो । त्यस टोलीको कोही सदस्य अहिले अमेरिकी टोलीमा छैनन । डिभिजन ५ मा अमेरिकासँग खेलेको त्यो टोलीका नेपाली टोलीमा ज्ञानेन्द्र र पारसमात्र छन् । सुवास वैकल्पिक खेलाडीमा मात्र थिए । उनले नै अभ्यास खेलमा अमेरिकाविरूद्ध ३४ बलमा ५३ रन बनाउँदै राष्ट्रिय टोलीमा ढोका खोलेका थिए । संयोगले यस पटक पनि सुवास नेपाली टोलीको वैकिल्पकमै थिए र अभ्यास खेलमा अर्धशतक बनाउँदै पुनः राष्ट्रिय टोलीमा आएका छन् ।
विश्व क्रिकेट लिगको डिभिजन संरचनमा नेपाल र अमेरिका नियमीत जस्तै भेट हुन्थ्यो । २०१४ मा मलेसियामा डिभिजन ३ खेले यता नेपाल माथि उठ्यो । त्यसयता नेपालले प्रतियोगितात्मक खेलमा प्रतिस्पर्धा गर्न लागेको पहिलो पटक हो । अमेरिका डिभिजन ४ बाट माथि उक्लँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बनेको हो । लिग २ मा अमेरिकाको शीर्ष स्थानको फड्कोले उसको प्रदर्शन छर्लङ बनाउछ । ओमानसँगको खेल घरेलु मैदानमा नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय थियो । त्यसमा विजय हात पार्न चुकेको नेपाल शनिबार अमेरिकाको खेलबाट लिग २ मा पहिलो विजय हात पार्ने प्रयासमा छ ।
‘दस वर्ष अगाडि हामी गर या मरको स्थितिमा हुन्थ्यौं । विश्व क्रिकेट लिगको संरचना पनि त्यस्तै थियो, एउटा खेल हार्दैमा पनि बाहिरिन सक्ने स्थिति हुन्थ्यो,’ कप्तान ज्ञानेन्द्र अमेरिकासँग नयाँ संरचनामा प्रतिद्वन्द्वता सुरु भएको जनाउँदै भन्छन्, ‘त्यो स्त्तरबाट यो स्तरमा आउँदा दुवै टोलीमा धेरै परिवर्तन भएको छ । विश्व क्रिकेटको संरचनामा पनि धेरै परिवर्तन भएको छ । यो दुई टोलीबीचमा एक खाले प्रतिद्वन्द्वता छ । पहिला विश्व क्रिकेट लिग डिभिजनको थियो, अहिले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको प्रतिद्वन्द्वता सुरु भएको छ ।’

खेलकुद

एजेन्डा थप्नै अस्वीकार

- राजु घिसिङ

(काठमाडौं) - अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको नौ महिनायता पहिलोपल्ट बोलाइएको आइतबारको बैठकमा विधानअनुसार जानकारी दिइए पनि नेतृत्वले एजेन्डा थप्नै अस्वीकार गरिदिएको छ । पछिल्लो समय फरक मत राख्दै आएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र सदस्य दावा लामाको एजेन्डा थप्ने प्रस्तावलाई एन्फाले अस्वीकार गरेको हो ।
एन्फाले विविधसहित ३१ वटा एजेन्डालाई समावेश गर्दै २६ माघ आइतबारलाई कार्यसमिति बैठक बोलाएको छ । एन्फा विधानको धारा ३७, उपधारा ३ अनुसार अध्यक्षले विषयसूची एकत्रित गर्न र कुनै पनि सदस्यले विषयसूची थप्नका लागि बैठकभन्दा ५ दिनअघि सचिवालयमा पठाउनुपर्छ तर वरिष्ठ उपाध्यक्ष नेम्वाङले २१ माघ र सदस्य लामाले २० माघमै एन्फालाई एजेन्डा थप्नका लागि इमेल
पठाए पनि अस्वीकार गरिएको छ । दुवै जनालाई एन्फाका महासचिव इन्द्रमान तुलाधरले विधानअनुसार प्राविधिक कारण एजेन्डा थप्न नसकिने भन्दै इमेलमार्फत् जवाफ दिएका हुन् ।
‘सबै पदाधिकारीलाई प्रशासक (गोकुल थापा) को निजी इमेलबाट एजेन्डा पठाएर बैठकमा बोलाइएको छ । तर त्यही इमेलमा एजेन्डा थप्न अनुरोध गर्दा अस्वीकार गरियो,’ वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने, ‘मैले फुटबल विकास र सुशासनकै लागि एजेन्डा थप्न चाहेको थिएँ । हामीले पठाएको इमेलमा हस्ताक्षर नभएको बहाना बनाइयो । जुन इमेलमा विषयसूची पठाएर बैठक बोलाउँदा आधिकारिक हुन्छ, त्यही इमेलमार्फत् एजेन्डा थप्न अनुरोध गर्दा आधिकारिक होइन भनियो । यसले फरक मत राख्न खोज्नेलाई नेतृत्वले विभिन्न बहाना बनाएर पन्छाउन खोजेको प्रस्ट हुन्छ ।’
उनले २१ माघमै एजेन्डा थप्ने प्रस्ताव एन्फा सचिवालयमा दर्ता पनि गरेका थिए । त्यसलाई पनि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्ता गरिदिएका छन् । एन्फामा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वअध्यक्ष गणेश थापाविरुद्धको आन्दोलनमा सुरुबाटै शेर्पालाई नेम्वाङले साथ दिएका थिए । २०७४ वैशाखमा भएको निर्वाचनमार्फत् शेर्पा एन्फा अध्यक्ष बनेका थिए । कार्यसमिति निर्वाचनको करिब एक वर्षपछि आएर मात्रै नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । यी दुईबीच एक वर्षयता कार्यशैलीलाई लिएर मतभेद सुरु भएको थियो ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङले गत चैतमा विराटनगरमा भएको विशेष अधिवेशनमा गरिएको विधान संशोधन, एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को लेखापरीक्षण, ए डिभिजन लिगका लागि कतार एयरवेज र नेपाल टेलिभिजनसँग गरिएको सम्झौता, एएफसीले गरेको जरिवाना, जिल्ला फुटबल संघलाई दिइरहेको अनुदान र कार्यक्रम, ए, बी र सी डिभिजन क्लबहरूको तयारी खर्च र खेलाडीहरूको तलब वृद्धि गरी सातवटा एजेन्डा थप्न प्रस्ताव गरेका थिए ।
‘अध्यक्षले आफूअनुकूल काम गरेर त्यसलाई अनुमोदन गर्ने माध्यमका रूपमा मात्रै कार्यसमिति बैठकलाई प्रयोग गर्न खोजेका छन्, जुन विधानसम्मत होइन,’ उनले भने, ‘कार्यसमितिको निर्णयबिना अध्यक्ष शेर्पाले लिगको प्रायोजन र टेलिभिजन प्रसारण अधिकारको सम्झौता गरेको, एएफसी र फिफाको लेखापरीक्षण प्रतिवेदन कार्यसमितिलाई नदिएर लुकाएको, विधान संशोधन गर्दा झुक्याएर सबै जिल्ला संघहरूले पाउने मताधिकारको अधिकार खोसिएको छ, जसलाई विशेष अधिवेशनमा प्रस्टसँग जानकारी पनि गराइएन,’
उनले थपे, ‘माइन्युटमा पनि अध्यक्ष र महासचिवले मात्रै हस्ताक्षर गर्ने निर्णयमा घुसाइएको छ, जुन अधिवेशनमा छलफलसमेत भएको थिएन ।’
यूईएफएबाट प्राप्त सहयोग गर्ने एजेन्डालाई पनि आइतबारको बैठकमा समावेश गरिएको छ । यसबारे वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने, ‘यूईएफएबाट आएको रकमले अध्यक्षकै निर्देशनमा बस खरिद गरिएको छ, जबकि त्यस सहयोगबारे एन्फामा कुनै निर्णय नै भएको छैन । प्रदेशको तदर्थ समिति १ र गण्डकीमा अध्यक्षले एक्लौटी गठन गरेपछि बल्ल बैठकको एजेन्डामा राखिएको छ, जुन बिलकुलै गलत हो ।’ मन्त्रिपरिषद्को स्वीकृतिबिना रौतहटमा निर्माण गरिएको विवादास्पद महिला फुटबल एकेडेमीमा थप निर्माण र व्यवस्थापन गर्नेबारे पनि बैठकको एजेन्डामा समावेश गरिएको छ । सरकारी जग्गा अनधिकृत रूपमा कब्जा गरी भवन बनाइएको भन्दै रिट दायर भएपछि त्यहाँ सम्पूर्ण कार्य रोक्नू भन्दै बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ ।
केन्द्रीय सदस्य दावा लामाले एन्फाका पदाधिकारीहरूले भत्ता लिइरहेकाले त्यसलाई प्रस्ट पार्न बैठकको एजेन्डामै समावेश गर्नुपर्ने प्रस्ताव गरेका थिए र यसलाई पनि महासचिव तुलाधरको निजी इमेलमार्फत् जवाफ दिंदै अस्वीकार गरिएको छ । ‘पदाधिकारीहरूले अत्यधिक भत्ता लिइरहेको समाचार सञ्चारमाध्यममा आइरहेको, जसले एन्फालाई बदनाम बनाइरहेको छ,’ सदस्य लामाले भने, ‘तर यस विषयलाई प्रस्ट गरियो भने सबै कुरा बाहिर आउने भएकाले विभिन्न बहाना बनाएर एजेन्डामा राखिएन,’ उनले थपे, ‘पहिला जुन इमेलमार्फत् सूचना आउँथ्यो, त्यसैमा एजेन्डा थप्न मिल्थ्यो । अहिले विभिन्न बहाना देखाएर पन्छाउन खोजिएको छ ।’

खेलकुद

पौडी पोखरी अलपत्र

- मधु शाही

(बाँके) - नेपालगन्ज रंगशालामा पौडी पोखरी निर्माण
गरेको आठ महिना पुग्यो । सञ्चालनमा नआउँदै ढोकाका सिसा चर्किएका छन् । पोखरीमा लेउ लागेर पानी हरियो देखिन्छ । प्लास्टिकका टुक्रा, कागज र फोहोर तैरिएका छन् । ८ औं राष्ट्रिय खेलकुद सञ्चालनका बेला यहाँ पौडी पोखरी उद्घाटन गर्ने योजना थियो । निर्माण पूरा नहुँदा सम्भव भएन । होटलको पोखरीमा प्रतियोगिता सञ्चालन गरियो ।
ढिलो भए पनि निर्माण पूरा भइसकेको पोखरी सञ्चालनमा नआएपछि खेलाडी उदासीन छन् । पौडी संघ जिल्ला अध्यक्ष गोवर्द्धन सिंह ‘सम्झना’ ले पोखरीमा राष्ट्रिय खेल सञ्चालन गर्ने योजना रहे पनि निर्माणमा ढिलाइले वास्ता नभएको बताए । ‘पोखरीमा भ्यागुता उफ्रिएका छन्,’ उनले भने, ‘खेलाडीले कहिले खेल्न पाउने हुन्, परिषद्लाई चासो देखिँदैन ।’ प्रदेशकै गौरवको पौडी पोखरी भए पनि सदुपयोग र संरक्षणमा परिषद्ले खासै चासो नदेखाएको खेलाडीको आरोप छ । यसका ठेकेदार गणेश चौधरीले परिषद्को केन्द्रमा काम सम्पन्न भइसकेको र समयमा निवेदन पठाएको जनाए ।
८ औं राष्ट्रिय खेलकुदका लागि सरकारले नेपालगन्जमा २५ करोड रुपैयाँ लगानीमा प्यारापिटसहित अत्याधुनिक रंगशाला र १८ करोड रुपैयाँ लगानीमा पौडी पोखरी बनाएको हो । रंगशालामा सेन्थेटिक ट्र्याकको काम बाँकी छ । एथ्लेटिक्स खेलका लागि भनेर बनाउन लागिएको सेन्थेटिक ट्र्याकका लागि चालु आर्थिक वर्ष ०७६/७७ मा ४० लाख रुपैयाँ छुट्याइएको छ ।
पूर्ण रूपमा सेन्थेटिक ट्र्याक बनाउन झन्डै ३ देखि ४ करोड रुपैयाँ लाग्ने प्रदेश ५ तालिम तथा प्रशिक्षण केन्द्रका निर्देशक जयनकुमार शर्माले बताए । ‘किस्ता किस्तामा यति थोरै रकम पठाएर ट्र्याक बन्न सम्भव छैन,’ उनले भने, ‘महँगी बढ्दै जान्छ, बजेट अपुग हुन्छ ।’ खेलकुद संरचना जोगाउन र रेखदेख गर्न कर्मचारीको अभाव छ । एक जना मात्रै सहयोगी छन् । रेखदेख गर्ने मान्छेको कमीले खेल संरचना भताभुंग हुन थालेको निर्देशक शर्माले सुनाए ।
एकातिर खेल संरचना बन्नै बाँकी छ भने अर्कोतर्फ बनेका संरचनासमेत संरक्षणविहीन छन् । रंगशालामा लगाइएको दुबो सुक्दै गएको छ । हरेक तीन महिनामा पानी हाल्ने, घाँस गोडमेल गर्ने, मल हालेर स्याहारा गर्नुपर्ने हो । तर, दुबोले स्याहार नपाउँदा सुक्न थालेको खेलाडीहरू बताउँछन् ।

खेलकुद

राप्तीलाई उपाधि

- रमेशकुमार पौडेल

(चितवन) - चितवन प्रिमियर लिग (सीपीएल) टि–२० क्रिकेट प्रतियोगिताको पहिलो उपाधि राप्ती र्‍यापिड्सले प्राप्त गरेको छ । नारायणगढ क्याम्पाचौरमा शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा राप्तीले सौराहा स्यान्ड्सलाई आठ विकेटले पराजित गरेको हो । जितसँगै राप्तीले दुई लाख रुपैयाँ पुरस्कारका साथै ट्रफी र मेडल पाएको छ । उपविजेता सौराहाले एक लाख रुपैयाँ
पुरस्कार पायो ।
सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले दुई विकेट गुमाएर १७.४ ओभरमा पूरा गरेको हो । राप्तीका लागि बलिङमा कप्तान आकाश थापाको महत्त्वपूर्ण योगदान रहयो । उनले पहिलो विकेटकालागि साकार ढकालसँग ७७ रनको साझेदारी गरे । राप्तीको जितका लागि यो साझेदारी नै मुख्य आधार बन्यो । ५७ बलको सामना गरेका थापाले विस्फोटक ब्याटिङ गर्दै ७४ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे ।
ओपनर साकार ढकाल २७ बलमा ३२ रन बनाएर पेभिलियन फर्किएका थिए । हरिबहादुर चौहान १८ तथा भिम सार्की ११ रनमा नट आउट रहे । आक्रमक ब्याटिङ गरेका सार्कीले १७औं ओभरको तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै खेललाई टुंग्याए । सौराहाका बलर राप्तीका ब्याट्स म्यान सामु निरिह देखिए । सौराहाका आकाश चन्द र सुवर्ण थापाले समान ४–४ ओभर बलिङ गर्दै समान १–१ विकेट लिए ।
टस जितेर ब्याटिङ सुरु गरेको सौराहाले २० ओभरमा ४ विकेट गुमाउदै १३९ रन बनाएको थियो । खेलमा सौराहाले पनि राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय रित गौतम र राजेश ढकालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । तर सामान्य लक्ष्य खडा गरेका कारण राप्तीले सहजै पार गर्‍यो । फाइनल खेलको चितवन टाइगर्स म्यान अफ दी म्याच राप्तीका कप्तान आकाश थापा भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे । राप्तीकै हरिबहादुर चौहान प्लेयर अफ दि सिरिज घोषित भए । उनले १० हजारसहित ट्रफी प्राप्त गरे । हरिबहादुरले सीपीएलको पूरा खेलहरूमा १३१ बलमा १५३ रन बनाएका थिए । त्यसै गरी बलिङतर्फ १९ ओभरमा एक मेडन राख्दै ९० रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिएका थिए ।
भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगिताभर १३ ओभर ५ बल बलिङ गर्दै ७६ रन खर्चिएर ९ विकेट लिए । प्रतियोगिता भर ७३ बलमा १३१ रन बनाएका राप्तीका भीम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए । यस्तै राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउन्डर घोषित भए । उनले प्रतियोगिताभर ९४ बलमा १२२ रन बनाउनुका साथै १९ ओभरमा महत्त्वपूर्ण ८ विकेटसमेत लिए । उनीहरूले जनही ४–४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
समापन समारोहमा प्रमुख अतिथि वाग्मती प्रदेशका सांसद बिजय सुवेदी र अतिथि राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं चितवन टाइगर्सका मार्की प्लेयर सोमपाल कामीले पुरस्कार वितरण गरेकाथिए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका ३ जना खेलाडीहरू नेपालकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका छन् । प्रतियोगिताका उत्कृष्ट अलराउन्डर राप्तीका कप्तान आकाश थापा, उत्कृष्ट बलर भरतपुर गुर्खाजका कृजन गुरुङ र सौराहाका राजेश ढकाल चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनौट भएका हुन् । यस्तै भरतपुर गुर्खाजका कप्तान संघर्ष पौडेल वैकल्पिकमा परेका छन् । सिपिएल आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान राजु खड्कालाई क्रिकेटको विकासमा पु‍र्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।
आयोजकले उनलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । माघ १७ गतेबाट शुरु भएको सिपिएलमा चितवनका ५ टिमहरू भरतपुर गुर्खाज, सौराहा स्यान्ड्स, राप्ती र्‍यापिड्स, इच्छाकामना वारियर्स र माडी टाइगर्स सहभागी थिए ।

Page 17
कोसेली

फोबिया

- कान्तिपुर संवाददाता
तस्बीर : दीपक गौतम

हल्काफुल्का डराउनु एउटा कुरा हो, डराउने रोग नै लाग्नु अर्को कुरा हो । आफूलाई भित्रबाटै एकदमै बलियो ठान्ने मजस्तो निडर स्वास्नीमान्छे पनि एक दिन डराउने रोगको सिकार हुन सक्छु भन्ने अन्दाज नै थिएन । जबजब डाक्टरलाई भेट्छु, प्रत्येक भेटमा डाक्टर मेरो रोगलाई मानसिक डिसअर्डर हो भन्नुहुन्छ । मलाई लागेको रोग राजनीतिक डिसअर्डर हो भन्ने केवल मलाई मात्र थाहा छ ।
कुकुर देखेर डराउने रोग अर्थात् साइनोफोबिया । भीडभाड देखेर डराउने रोग अर्थात् अकोलोफोबिया । नग्नता देखेर डराउने रोग अर्थात् न्युडोफोबिया । पानी देखेर डराउने रोग अर्थात् अक्वाफोबिया । डराउने रोग अर्थात् फोबियाका अनेकन् प्रकार हुन्छन् । भनिन्छ, संसारमा प्रत्येक सय जनामध्ये दस जना कुनै न कुनै फोबियाले ग्रस्त हुन्छन् ।
हो, म पनि फोबियाले ग्रस्त बिरामी हुँ । आफूलाई फोबियाग्रस्त भनिरहँदा मलाई कुनै ग्लानि छैन तर कुनै गौरव पनि छैन । मलाई लागेको फोबिया संसारका ७.७ अर्ब मान्छेहरूमध्ये सायद एक जनालाई मात्र लागेको रोग हो । ममा अलि फरक खालको फोबिया छ । हो, म खीरफोबियाले पीडित छु ।
खीरफोबिया रे ? पहिलोपटक आफ्नो रोगबारे सुन्दा म आफैँलाई पनि पत्याउन मुस्किल परेको थियो । त्यही खीर, जुन स्वादका लागि प्रख्यात छ, त्यही खीरसित जोडिएको यति बेस्वादिलो रोग लाग्ला भनेर कहिल्यै सोचिनँ । कहिले हप्ताको अन्तरालमा, कहिले महिनाको अन्तरालमा म खीरफोबियाले इन्तु न चिन्तु हुन पुग्छु । संसारमा कसैलाई नलागेको खीरफोबिया रोग मलाई मात्र कसरी लाग्यो ? यो रोगसँग जोडिएको स्मृति उत्खनन गर्नु भनेको अलिकति आफैँलाई उत्खनन गर्नु हो, अलिकति उसलाई उत्खनन गर्नु हो ।

उसलाई भेटेको दिन मेरो निम्ति ऐतिहासिक दिन त थियो नै, उसलाई भेटेको अघिल्लो दिन पनि कम्ता ऐतिहासिक दिन थिएन ।देशका अन्य ठाउँहरूमा गणतन्त्रको मन्दमन्द हावा चल्दा कीर्तिपुर केन्द्रीय क्याम्पसमा भने गणतन्त्रको चर्को बतास चलिरहेको थियो । ऊसित भेट हुनुभन्दा अघिल्लो दिन त्यो बतासले अलि गर्जनयुक्त रूप देखाएको थियो । देशमा राजाको एक प्रकारको निरंकुश शासन चलिरहेको बेला हामी अध्ययनरत क्याम्पसमा भने संवैधानिक राजतन्त्र कि गणतन्त्र भन्ने सवालमा मत सर्वेक्षण भइरहेको थियो । मत सर्वेक्षणमा मतदान गरेर सकिँदा नसकिँदै क्याम्पस हाताभित्रै आर्मीहरूको हस्तक्षेप, मतपेटिका क्याप्चरको प्रयास, धरपकड, ढुंगा हानाहान, ४–५ राउन्ड टियर ग्यास प्रहार–नेपालको राजनीतिक इतिहासमा कहीँकतै नलेखिएको यी सब घटनाहरू नजिकबाट देखेकी थिएँ, भोगेकी थिएँ ।
त्यही साँझ मैले चिनेको एक जना विद्यार्थी नेता मलाई भेट्न आउनुभयो । भन्नुभयो, ‘दिउँसोको मतदानको कारण प्रहरी तथा आर्मी जुनसुकै बेला होस्टलमा छापा मार्न आउनसक्छ । तपाईं होस्टलको प्रिफेक्ट भएको नाताले आफ्नो ब्लकका सबै साथीहरूलाई यो खबर पुर्‍याइदिनुहोला र सतर्क रहन भनिदिनुहोला । तपार्इंसित राजनीतिक किताबहरू छन् भने मलाई दिनुहोला, म लुकाएर राख्दिन्छु । वातावरण अलि मत्थर भएपछि फिर्ता लग्नुभए हुन्छ ।’
रातको खानापछि आफ्नो ब्लकका सबै साथीलाई जम्मा गरेर आर्मी वा प्रहरीले छापा मार्न आउन सक्ने सम्बन्धमा जानकारी गराएँ र आफूसित भएका अलि क्रान्तिकारी मार्काका किताबहरूचाहिँ तुरुन्त लुकाउन आग्रह गरेँ । छापा मार्दा सबैभन्दा बढी खतरा कसैलाई हुन सक्थ्यो भने त्यो मलाई नै हुन सक्थ्यो किनभने निरंकुश राजतन्त्रले नरुचाउने सबैजसो क्रान्तिकारी किताबहरू मेरो टेबलमा थिए । राजनीतिमा चासो राख्ने हुनाले तिनताका म राजनीतिक किताबहरूको लतीजस्तै भएकी थिएँ । कविता लेख्थेँ । कविता पनि सबै–सबै राजनीतिक कविताहरू ।
माक्सिम गोर्कीको ‘आमा’, निकोलाई आस्त्रोवस्कीको ‘अग्निदीक्षा’, कार्लमार्क्सको ‘दास क्यापिटल’, लेनिनको ‘राज्य र क्रान्ति’, एंगेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’, याङ मोको ‘युवाहरूको गीत’, माओको ‘रेड बुक’ र ‘माओका संकलित रचनाहरू’, मोहनविक्रम सिंहको ‘पेमा लामा प्रश्नोत्तर माला’, बाबुराम भट्टराईको ‘मोनार्की भर्सेस डेमोक्रेसी’ जस्ता थुप्रै किताब थिए मसित । एउटा प्लास्टिकको झोलामा ती सबै किताब राखेर त्यो रात होस्टल पछाडिको झाडीमा लगेर लुकाएँ । अन्य केही साथीले पनि त्यसै गरे ।
भोलिपल्ट दिउँसो कलेजमा मत सर्वेक्षणको नतिजा सुनाइयो । ९० प्रतिशतभन्दा बढी मत गणतन्त्रको पक्षमा खसेछ । त्यही साँझ खतरनाक मानिएका किताबहरू लिएर सोही विद्यार्थी नेताले दिएको ठेगानातर्फ लागेँ । कोठामा विद्यार्थी नेतासित भेट भएन तर उनै विद्यार्थी नेताको कोठामा ऊ भेटिएका थियो । केही सहजता, केही असहजताका साथ मैले आफू आउनुको कारण बताउँदै उसलाई ती किताब जिम्मा लगाएको थिएँ । किताब लिन म उभिएको ठाउँसम्म आउने बेला मैले याद गरेँ कि ऊ निकै अप्ठ्यारोसित खोच्याउँदै हिँडिरहेको छ । घाइते छ ।
‘तपाईं दुर्घटनामा पो पर्नुभएको हो ?’ अनायसै मेरो मुखबाट प्रश्न फुत्कियो ।
‘होइन, म जनयुद्घमा घाइते भएर उपचारका लागि काठमाडौं आएको हुँ,’ उसले सहजै बतायो ।
‘तपाईं जनमुक्ति सेना पो ?’ पहिलोपटक म कुनै भूमिगत माओवादी देखिरहेकी थिएँ । आँखैसामु कुनै लडाकु योद्घा देखिरहेकी थिएँ ।
मैले कतै सूचना चुहाइदिएको भए उसको र विद्यार्थी नेता दुवैको ज्यान जान सक्थ्यो किनकि शाही सरकारको नजरमा माओवादी हुनु वा माओवादीलाई संरक्षण दिनु अक्षम्य अपराध जो मानिन्थ्यो । कुन विश्वासमा मलाई त्यति ठूलो सत्य यसै बतायो उसले ? मैले आजसम्म त्यसको कारण थाहा पाएकी छैन ।
उसको अनुहारभरि आला तथा पुराना घाउहरू थिए । मोजा लगाएको हुनाले खुट्टा त देख्न पाइनँ तर यसो उसका हातहरूतिर आँखा दौडाएँ । उसका हातका औँला र पञ्जाहरू यति खस्रा थिए कि अनायासै मलाई सौराहा घुम्न जाँदा देखेको गैंडाको खस्रो छालाको याद आएको थियो । के बन्दुक बोक्ने हातहरू यिनै हुन् ?
उसका आँखाहरू गडेका थिए तर गलेका थिएनन् । एकदमै वाचाल थिए । के रात–रातभर सेन्ट्रीमा तैनाथ आँखाहरू यिनै हुन् ?
उसलाई देखेपछि म मेरै मनसित कुरा गरिरहेको थिएँ । अनायासै उसले परिचयको पर्दा उठायो— म सिद्घार्थ भट्टराई । पार्टीमा चाहिँ मलाई कमरेड आलोक भनेर चिन्छन् । घरचाहिँ घाटी छिना, पोखरा ।
जवाफमा मैले पनि आफ्नो परिचय उघारेँ— म दुर्गा नेपाली । घर लंकु, चितवन । यहाँ होस्टलमा बसेर पढ्दैछु ।
‘उतिबेलाका सिद्घार्थ ध्यान गर्न जंगल पसेका थिए । यतिबेलाका सिद्घार्थचाहिँ जनयुद्घ गर्न जंगल पस्नुभएछ है !’ उसितको कुरा लम्ब्याउने ध्येयले फिस्स हाँस्दै भनेँ ।
‘जनयुद्घ पनि आफैँमा एक ध्यान नै हो दुर्गाजी !’ दार्शनिक पारामा मुस्कुराउँदै उसले भन्यो । उसको जवाफले एक छिन त म झनन्न भएँ ।
‘जनयुद्घमा चाहिँ किन लाग्नुभयो नि ?’ जिज्ञासावश मैले सोधेँ ।
‘खीरको कारणले लागेँ’, उसले छोटो तर अमूर्त जवाफ दियो । उसको अमूर्त जवाफले म पुनः झनन्न हुन पुगेँ ।
‘जनयुद्घ’ र खीरको बीचमा पनि कुनै सम्बन्ध हुन सक्छ ? उसको कुरा नबुझेर म अलमलमा परेँ । मेरो अलमल देखेर होला, उसले आफैँ रहस्यको पोको खोल्यो ।
‘त्यतिबेला म पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारीको अध्यक्ष थिएँ । भोलिपल्ट माओवादीले बन्दको आयोजना गरेको थियो र म अघिल्लो साँझ नै बाआमालाई भेट्न आफ्नो गाउँ घाटी छिना गएको थिएँ । बन्दको बिहान दूधको गाडी क्याम्पस हुँदै जाँदै रहेछ । बन्दका समर्थक हाम्रै विद्यार्थी संगठनका केही साथीले बन्दमा गाडी चलाउने भन्दै दूधको गाडी जलाइदिएछन् र दूध भने होस्टलमा लगेर सबै मिलेर खीर पकाएर खाएछन् । खीर पकाएर खाएका साथीहरू त जसोतसो उम्किए, तर गाडी जलाएको र खीर पकाएर खाएको आरोपमा कसै न कसैलाई पक्रनैपर्ने थियो । पक्राउ गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा छ भन्ने हल्ला सुनेँ । पटकपटक मलाई खोज्दै आर्मी होस्टलमा आएको रहेछ । साथीहरूले पकाएर खाएको खीरको मूल्य चुकाउन म ‘जनयुद्घ’ मा होमिनैपर्ने थियो किनकि माओवादी समथर्कलाई पक्रेर लगेपछि फिर्ता आउन लगभग असम्भवजस्तै थियो ।

एकपटक साँझको समयमा ऊ हाम्रो घरमा आएको थियो । चुल्हो छेउमा बसेर उसले आफ्नो दुवै हात मोलिरह्यो । निकै हतास देखिन्थ्यो ।
‘अर्को आमसभा विराटनगरमा छ । तर मलाई जान मन छैन ।’ दीपेशले भन्यो । उसको आँखा दन्दनी सल्किरहेको दाउरामा केन्द्रित थियो ।
‘किन ?’
‘साम्देन मोक्तान मारिएछ । टाउको एकातिर । जीउ अर्कोतिर ।’
दीपेशले एकै सासमा भन्यो । आमाले हातले आफ्नो मुख छोप्नुभयो । मेरो आङबाट कम्पन छुट्यो । साम्देन मोक्तानको श्यामश्वेत अनुहार सम्झिएँ ।
‘अहिले धुइँपत्ताल मेरो खोजी भइरहेको छ रे । तर म आमा र दिदीलाई छोडेर जान चाहन्नँ ।’ अगुल्टो चलाउँदै दीपेशले भन्यो । आमाले भान्साको ढोका ढप्काउनुभयो ।
‘के तिमी माओवादी भयौ ?’ मैले
सासले सोधें ।
‘हो । त्यतिखेर मैले क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिएको थिएँ । यो माओवादीकै भ्रातृ संगठन रहेछ । अहिले द्वन्द्व बढेर गएको छ । संगठन छोड्दा माओवादीबाटै कारबाहीमा पर्छु । नछोड्दा पुलिस प्रशासनको कारबाहीमा पर्छु । मेरो लागि दुवैतिर मृत्युको कुवा छ ।’
दीपेशको आँखामा भयको सर्को देखियो । ऊ त्यस रात केही नखाई निस्कियो । हुरी जसरी आयो । गयो ।

तीन महिनापछि ।
म टेस्ट परीक्षामा पास भएँ । एसएलसी तयारी गर्नु थियो । शान्ताराज सरसँग ट्युसन पढ्न जान थालेकी थिएँ हटियामा । त्यस बिहान म साढे ७ बजे घरबाट निस्किएँ । आधा बाटोमा सम्बिका भेटिई । ऊ पनि सँगै परीक्षाको तयारी गर्दै थिई । अघिपछि भन्दा निन्याउरो देखिई ।
‘ओइ । के भयो ?’
ऊ चुपचाप हिँडिरही ।
‘किन चुप छेस् ? के भयो ? भन् न ।’
उसले चुप्पी साधेको देखेर म हैरान भएँ ।
‘हिजो फापरबारीमा शाही सेना र जनमुक्ति सेनाको भिडन्तमा दीपेश मारिएछ । बाले बिहानै रेडियोमा सुन्नुभएको ...।’
सम्बिका वाक्य पूरै नगरी दौडिई बेपत्तासँग । मेरा पैताला जड भए । मानौं, मेरो मुटुको वजन एकाएक बढेको छ । त्यो छाती फुटाएर निस्कूँजस्तो गर्दै छ । त्यसपछि मैले सम्बिकालाई पछ्याइनँ । फरक्कै
फर्किएँ घरतिर ।

उत्सव रहेछ जीवन, मनाउन जाने आँसु पनि मोती बन्छ, खसाउन जाने कहिलेकाहीँ निर्जीव त्यो, तस्बिर अनि  मूर्ति बोल्छ लियोनार्दोले झैं मोनालिसा बनाउन जाने फेसबुक स्क्रोल गर्दै थिएँ । कसैले मुक्तक पोस्ट गरेको रहेछ । प्रोफाइल चेक गरें । समुद्रको तस्बिरलाई प्रोफाइल बनाएको रहेछ । नाम सागर । मकवानपुर । मैले ग्यालरी सर्च गरें । खाली थियो ।
‘हेलो, नमस्ते । म चिनीमाया मकवानपुरबाट । कहिलेकाहीं गजल लेख्छु । तपाईंको मुक्तकले मन छोयो ।’
म्यासेन्जरमा पाँच हरफ लेखिपठाएँ ।
‘ममी खाजा के छ ?’ मेरो एघारवर्षे छोरोको आवाजले म तानिएँ । ऊ स्कुलबाट आइपुगेको थियो । मोबाइल बन्द गरेर भान्सामा पसें । साँझको धन्दा सकाएर फेसबुक खोलें । म्यासेन्जरमा दुई–चारवटा नोटिफिकेसन रहेछ । सागरको रिप्लाई देखें । क्लिक गरें ।
‘हेलो । चिनीमाया । मलाई चिन्यौ ? म दीपेश । दीपेश थापा । अहिले मलेसियाबाट ।’

Page 18
कोसेली

जुना तामाङको प्रेमकथा

- हरि अधिकारी

अँगेनाको छेउमै भुसुक्क निदाएका दुइटै नानीहरूलाई माथि कोठामा लगी सुताइदिएर फर्केकी जुना तामाङले पकाएका, खाएका जुठा भाँडाकुँडा जम्मा पारी, तिनलाई प्लास्टिकको एउटा ठूलो बाटामा हाली र बाख्राको खोरनेर लगेर राखिदिई । ती जुठा भाँडाकुँडा अहिल्यै माझूँ कि भोलि बिहानका लागि राखूँ ? एक छिन उसलाई दोमन भयो ।
एउटा मनले भन्यो ‘अहिल्यै माझ् जुने, अहिले नै माझ्, टन्टै खलास गर्, खान साँची अरूलाई काम साँची आफूलाई भन्ने उखान त सुनेकिछेस् नि ?’
यो कुरोलाई जायज ठानेर त्यसै गर्न आँटेकी मात्र के थिई उसको अर्को मनले तुरुन्तै भन्यो, ‘आ..केको हतार, भोलि बिहान पनि सिकारको बन्दोबस्तीमा खटिएको पिपाको सिपाहीले जस्तो कुन राजाको पाल टाँग्नु छ र तँलाई, आजै, अहिले नै सबै काम सक्न ?’
उसलाई लाग्यो कुरो त यो पनि ठीक हो ।
आफ्नो मनले दिएको अघिल्लोभन्दा पछिल्लो सल्लाह मन पर्‍यो उसलाई त्यतिबेला । हुन पनि हो, दुई नानीहरू र आफूसमेत् ३ जनाको छोटो र छरितो भात भान्साका भाँडाकुँडा सफा गर्न कति नै समय चाहिने हो र ? अहिले गरे पनि भोलि गरे पनि, बढीमा उही आधा घण्टा लाग्ने न हो ।
त्यसपछि जुठा भाँडा थुपारेको बाटालाई खोरको छेउमा त्यसै छोडेर अँगेनाको डिलनेर आई र त्यहाँ राखिएको परालको चकटीमा थचक्क बसी । थचक्क बस्ने क्रममा ज्यान त्यति स्थिर र संयत नभएको देखेर उसले आफ्नो पेट र पुट्ठामा अलि बढी नै बोसो लागेको जस्तो अनुभव गरी । थोरै खिन्न भई ।
अधबैँसे उमेरको जस्केलामा पुग्न लागेको आफ्नो ढाडले आड खोजेजस्तो लाग्यो उसलाई । पलेटीमुनिको चकटीलाई सारेर नजिकको थामसम्म लगी र त्यसमा अडेस लागेर बसी । थामको अडेसा लागेर आँखा चिम्म गरी बस्दा शरीरलाई अलिकति सुबिस्ता भएजस्तो त भयो । तर, त्यसपछि पनि तत्कालका लागि गर्ने कुनै काम नभएको मानिसको जस्तो अन्यमनस्क मुद्रामा देखिई ।
त्यति नै बेला अचानक उसलाई केही बेर पहिले दुई–चार सर्को मात्र तानी निभाएर चौबन्दी चोलोको भित्री पत्रको सानो बगलीमा जतनसाथ राखेको चुरोटको ठुटोको सम्झना भयो । चुरोटको त्यस ठुटोलाई सम्झिएपछि अनुहारमा हल्का खुसीको तरंग फैलिएझैँ देखिएकी उसले त्यसलाई बगलीबाट झिकी र अँगेनामा भएको आगोको फिलिंगोमा झोसेर सल्काई ।
त्यसपछि चिम्सा आँखा, गोरो मुहार र थाम्मरथुम्मर बाक्लो ज्यान भएकी यस कथाकी एक्ली नायिका जुना तामाङ, नेपालका अधिकांश गरिब अम्मलीहरूको पहिलो रोजाइमा पर्ने पाइलट मार्का सस्तो र खरो चुरोट धित मर्नेगरी तानिरहेकी देखिई । पहिलो सर्कोमा तानेको चुरोटको धूवाँलाई तुरुन्तै बाहिर ननिकालेर घाँटीतिरै कतै अल्मल्याई र एक छिनपछि नाकका दुवै पोराबाट फुरुरु पारेर फ्याँकिदिई । सिंगो र ठुटो गरी उसले त्यस दिन खान लागेको चुरोटको त्यो आठौँ खिल्ली थियो ।
दिनेश सरले धेरैपटक भनेका थिए, ‘आफ्ना सुलुत्त परेका, मसिना चोरी र माझी औँलाका बीच च्यापेको चुरोटको खिल्लीलाई पातला ओठसम्म पुर्‍याई त्यसको लामो सर्को तानेका बेलामा तिमी गज्जबकी सेक्सी देखिन्छ्यौ ।’ सरले भनेको यो कुरा अहिले सम्झँदा उसको मुटु एकपटक ढक्क भयो । अनायाश नै फिस्स हाँसी र यसरी चुरोट तान्दा के म साँच्चिकै सेक्सी देखिन्छु त ? मनमा उठ्न खोजेको त्यो प्रश्नलाई बीचैमा टुक््रयाइदिई र टोलाएझैँ भई ।
चुरोटजस्तो नाथे पदार्थसँग उसको जीवनको सबैभन्दा मीठो स्मृति गाँसिएको कुरा कस्तो–कस्तो अमिल्दा र अनौठोजस्तो लाग्छ उसलाई, अहिले पनि । तर, त्यो थियो उसको जीवनमा आएको एउटा अद्भुत क्षण, जतिबेला उसले आफ्नो जीवनमा आएको पहिलो पुरुषप्रति पैदा भएको अति नै घनीभूत रतिरागात्मक आकर्षणको त्यस्तो तीव्र अनुभूति गरेकी थिई, जसलाई शब्दमा ठीकसँग उतारेर वर्णन गर्न सम्भव लाग्दैन उसलाई ।
उसले आफ्नो हृदयको अन्तस्तलमा बडो जतनका साथ लुकाएर राखेको पहिलो प्रेमको स्मृति–तरंग फेरि एकपल्ट सजीवझैँ भएर चेतनामा फैलिन थालेपछि उसका पातला कमनीय ओठमा अनायास मुस्कानको सानो धर्सो देखा पर्थ्यो हरेक पटक । त्यतिबेला पनि भयो त्यस्तै । उसले एकपटक लामो सास फेरी र आफ्नो स्मृतिको कोषागारबाट आफ्नो जीवनको त्यो सबैभन्दा महत्त्वपूर्ण क्षणलाई बाहिर निकाली, त्यससँग एक छिन खेल्ने चेष्टा गरी र त्यसले दिने आनन्दको सरोबरमा आफूलाई चुर्लुम्म डुबाई ।
जुना तामाङको सम्झनाको ढुकुटीमा दुःख, विरह र वेदनाका अप्रिय कुराहरू नै धेरै छन् । तर, दिनेशहरि सरसँग भएको पहिलो भेट र चुरोटको प्रसंगलाई भने उसले आफ्नो सम्झनाको एल्बममा भएको सबैभन्दा सुन्दर तस्बिरको रूपमा हृदयमा सजाएर राखेकी छे । जुनालाई लाग्छ, उसको हृदयको भित्री तहमा कोरिएको त्यस तस्बिरको रङ ऊ नमरुन्जेल फिक्का हुनेछैन ।
खिरिलो ज्यान भएका, सामान्यभन्दा अलि अग्ला, अधबैंसेजस्ता देखिने इँटेबेंसीको गौरेश्वर हाइस्कुलका अंग्रेजी शिक्षक दिनेशहरि नेपाली सरसँग जुनाको देखाभेट अचानक नै भएको थियो । ती दुवैको जीवनको मार्गचित्रलाई नै पूरै फेरिदिने त्यो अद्भुत क्षणको सम्झना मात्रले पनि जुनाको हृदयमा रोमाञ्चको तरंग उठ्छ अहिले पनि ।
रोसी खोलाको उद्गमतिरको एउटा सानो गाउँबाट पहिलोपल्ट पनौती बजारको इन्द्रेश्वर मन्दिरमा माघे संक्रान्तिका दिन लाग्ने मेला भर्न भाउजू अनिता ब्लोन तामाङको साथ लागेर आएकी थिई १९ वर्षीया चञ्चल चपल किशोरी जुना ब्लोन तामाङ । मंसिर महिनाको खुला फाँटमा आफ्ना स–साना पखेटाहरू फिर्फिर गर्दै निर्धक्क उडिरहेको गाइने कीरोजस्तै पनौती बजारमा आँखाअगाडि आउने सबै वस्तु र तिनले बनाउने दृश्यलाई आँखाले चुम्दै, अडिँदै अडिँदै हिँडिरहेकी थिई ऊ ।
अचानक उसका आँखा इन्द्रेश्वर मन्दिरतिर लाग्ने मोडनेरको डबलीमा हालिएका प्लास्टिकका कुर्सीहरूमध्ये एउटामा बडो निस्फिक्रीसँग खुट्टा फैलाएर बसेका र सार्‍है भाँती पारेर अत्यन्तै स्वाद लाग्नेगरी चुरोट तानिरहेका दिनेशहरि सरमा गएर ठोक्किएका थिए । त्यसो त त्यस दृश्यमा त्यस्तो अनौठो केही पनि थिएन तर जुनालाई त्यसले मन्त्रबिद्धझैँ बेसुध पारेको थियो । देख्दैखेरी बेकारको जस्तो लाग्ने, सुर्ती बेरेको कागजको एउटा टुक्रोलाई ओठमा च्यापेर तान्दै मुख र नाकबाट पीरो धूवाँको मुस्लो निकालिरहेका ती ख्याउटे अधबैंसे त्यस दिन, त्यस खास क्षणमा उसलाई किन त्यति धेरै आकर्षक लागेका थिए, त्यसको रहस्य भने उसले अहिलेसम्म पनि पत्ता लगाउन सकेकी छैन ।
दिनेशहरि सर बसेको बाहेक अरू तीन–चार कुर्सी पनि थिए त्यहाँ । तिनमा अरू मानिस बसेका थिए । ती सरका साथी वा विद्यार्थीहरू हुँदा हुन् । तर, जुनाले भने त्यस क्षणमा पनौती बजारको त्यो मुख्य चोकमा अंग्रेजी सर दिनेशहरि नेपालीबाहेक अरू कसैलाई पनि देखिन । देख्दैमा गम्भीर र नीरस लाग्ने ती भद्रपुरुषले तत्काल त्यही क्षणमा उसको दिल र दिमाग दुवैलाई बलियोसँग आफ्नो पकडमा लिएको कुरामा भने कुनै सन्देह थिएन ।
आफूले कहिल्यै नदेखेकी, खाँट्टी गाउँले तामाङ्नीजस्ती देखिने एउटी किशोरीले त्यसरी गहिरो दृष्टिले आफ्नो अनुहारमा हेरेको थाहा भएपछि दिनेशहरि माड्साहेबले अलिक असजिलो माने । आङ तानेर संयत हुने प्रयत्न गरे र त्यसपछि बसेको कुर्सीबाट उठेर जुनाको ठीक अगाडि आएर उभिए । जुना खङ्ग्रङ्ग भई । धेरै संकोच र डर थोरै भरोसाको मनस्थितिमा टाउको निहुर्‍याएर उभिइरही ।
के गरूँ, कसो गरूँ भएका दिनेशहरि सरले कमिजको माथिपट्टिको बगलीमा भएको याक मार्का चुरोटको बट्टाबाट झटपट एउटा चुरोट झिकेर जुनातिर तेर्स्याउँदै थोरै संकोचका साथ सोधे, ‘खान्छ्यौ ?’
‘छ्या खान्छौँ कि क्या हो हामी त्यस्तो जाबो चुरोट ?’ जुनाले अलि भन्केको तिखो स्वरमा जवाफ दिई । त्यतिबेलासम्म ऊ चुरोट खान्नथी, उसलाई सुर्तीको गन्ध नै मन पर्दैनथ्यो ।
‘ओहो, गल्ती भो सरी है’ दिनेशहरि माड्साहेबले यति भने र जुनाका दुवै हत्केलालाई एकै ठाउँमा राखी चपक्क समाएर थुम्थुम्याए । उनको त्यो कमनीय स्पर्ष र उनले मधुरो स्वरमा मागेको माफीको जुनाको हृदयमा यति बलियो प्रभाव पर्‍यो ऊ भावावेशमा आएर थर्थर् कााम्न थाली । उसलाई सरको अगाडि उभिइरहन सकस भयो । सरको हातबाट आफ्ना दुवै हत्केलालाई बिस्तारै छुटाएर ऊ नजिकै रहेको कुर्सी तानेर बस्न पुगी ।
जुनालाई त्यसपछि घरमा के भयो ? आमा बाले के भने, मलेसियामा भएको दाजुले के लेखेर पठायो, भाउजूले सहयोग गरिन् कि गरिनन्जस्ता कुराहरूको विस्तृत विवरण दिन मन लाग्दैन । ऊ आफ्नो र दिनेशहरि नेपाली सरको सम्बन्धलाई लिएर आफूले गरेको त्यो अहम् निर्णयलाई मात्र सम्झन्छे, जसले उसलाई आजको स्थितिमा ल्याइपुर्‍याएको थियो ।
जुनाले सम्झी, त्यस दिन भाउजू र सर स्वयम्को करबलले इन्द्रेश्वरको मेलाबाट गह्रुँगो मन लिएर घर फर्केकी जुना त्यसको एक महिना पनि पूरा नबित्दै एउटा रुकस्याकमा दुई जोडी कपडा, दाँत माझ्ने मञ्जन र बुरुस, एउटा काइँयो र मुट्ठीभित्र अटाउने खालको एउटा सानो ऐनाजस्ता खिच्रिमिच्री सामान हालेर सरासर दिनेशहरि सर ले पढाउने गरेको स्कुल भएको ठाउँ इँटेबेंसी
पुगेकी थिई ।
त्यसरी घर छोडेर हिँडेकी उसको मनमा ठूलो धुकचुक थियो । अनेक प्रकारका अशुभ आशंकाहरूबाट दपेटिएकी उसका पाइलाहरूसमेत ऊ हिँडिरहेको बाटोको ठीक ठाउँमा परिरहेका थिएनन् । तर, उसको मनको भित्री कुनामा भने दिनेशहरि सरप्रति उसले गरेको भरोसाको दियो मन्दमन्द आँचमा भए पनि पूरै दृढताका साथ बलिरहेको थियो ।
सोधखोज गरेर सर बसेको घर पत्ता लगाई त्यसको पिँडीमा बसेर उनलाई पर्खिरहेकी जुनाले अपराह्न साढे ४ बजेतिर सर् आएपछि बडो सुस्थिर र संयत स्वरमा ‘सर् म त आएँ नि’ भनेकी थिई ।
ऊ आउनेछे भन्ने कुरामा ढुक्क भएर बसेझैँ दिनेशहरि नेपाली सरले पनि उसलाई असीम अनुरागका साथ अँगालोमा बेर्दै भनेका थिए, ‘स्वागत छ जुना प्यारीलाई । म एक प्रकारले तिमीलाई नै पर्खिरहेको थिएँ ।’
जुनाको प्रेमले प्रेमीको अँगालो पाएको थियो, उसको देहले सन्तुष्टि । उसले छिट्टै नै एउटी स्त्रीको जीवनका लागि सर्वाधिक महत्त्वको मानिने मातृत्वको सुख पनि पाएकी थिई । तीन वर्षभित्र २ सन्तानकी आमा भएकी थिई ऊ । त्यसपछि दुवैको सल्लाहले दिनेश सरले परिवार नियोजनको स्थायी उपाय अवलम्बन गरेका थिए ।
अतीतका तीता–मीठा सम्झनाहरूको तलाउमा डुब्दै–उत्रँदै गरेकी जुनाले फेरि अर्को चुरोट सल्काई । तल्लो ओठको एउटा पत्रमा तिखो आँच पुग्ने गरी एउटा लामो सर्को तानी र मुख गोलो पार्दै त्यसबाट धूवाँको स–सानो नीलो रङको मुस्लो फ्याँकी । किन हो उसको मन थोरै शान्त भयो ! अनि उसले आफ्नो जीवनमा घटित त्यो सबैभन्दा भयानक घटनाले हृदयमा पारेको कहिल्यै खाटा नबस्ने घाउलाई सुम्सुम्याउन थाली ।
एउटा घुर्मैलो दिनको कुरो हो यो । स्कुलबाट निकै ढिलो गरी आएका दिनेश सरले त्यस दिन स्कुल जाँदा लगाएर गएको कपडासम्म पनि नफेरी उसलाई सुत्ने कोठामा बोलाएका थिए र एकदम धीमा स्वरमा अडिई अडिई भनेका थिए, ‘मलाई माफ गरिदेऊ प्रिय जुना, मैले मेरो जिन्दगीको सबैभन्दा ठूलो रहस्य तिमीसँग लुकाएर राखेको थिएँ । म माओवादी दलको कार्यकर्ता हुँ, एउटा तहको नेता भने पनि हुन्छ । तिमीसँग सम्बन्ध बढाउने र सँगै बस्ने बेलामा मैले पार्टीलाई जानकारी गराएर अनुमति पनि लिएको थिएँ । तर, अहिले पार्टी नेतृत्वको आन्तरिक द्वन्द्वका कारण परिस्थिति फेरिएको छ र ममाथि कारबाही हुनुपर्छ भन्ने कमरेडहरू निर्णायक तहमा पुग्नुभएको छ । उहाँहरूले ममाथि यौन विचलन र सुविधाभोगी निम्न पुँजीवादी व्यवहार गरेको आरोप लगाउनुभई मलाई आचरण शुद्धीकरण र आत्मालोचनाका लागि पश्चिमको जलजला क्षेत्रको श्रम शिविरमा पठाउने निर्णय गर्नुभएको छ । भोलि नै हिँड्नु भन्ने आदेश छ ।’
सरको कुरा सुनेर जुनाको त आफू उभिएको जमिन नै भास्सिएको झैँ भएको थियो । एकदम नै हतप्रभ भएकी उसले बिस्तारै सोधेकी थिई, ‘पार्टीको यो आदेश नमाने के हुन्छ ?’
‘मलाई मारेर यतै कतै फालिदिन्छन् ।’
‘मेरो के हुन्छ त अब ?’ अधमरो स्वरमा जुनाले अर्को प्रश्न सोधेकी थिई ।
‘हाम्रा दुइटा नानीहरूका लागि तिमीले सर्भाइभ गर्नुपर्छ । मैले ब्राइट फ्युचर बोर्डिङ स्कुलका प्रिन्सिपल राघव सरसँग कुरा गरेको छु । उहाँले तिमीलाई केही न केही काम दिनुहुन्छ । हाम्रो प्रेमको निसानी यी दुई बालखलाई बचाउने प्रण गर्छ्यौ नि ?’
त्यसपछि दुवै जनाका लागि आपसमा भन्ने–सुन्ने कुरा केही पनि बाँकी रहन गएको थिएन ।
त्यसको भोलिपल्ट बिहान सबेरै दुई जना पुरुष र दुई जना स्त्री कमरेडहरूले राप्ती अञ्चलको पहाडी भेगतिर पुर्‍याउने भनी लिएर गएको जुनाको प्राणप्रिय, गौरेश्वर हाइस्कुल इँटेबेंसी काभ्रेका अंग्रेजी शिक्षक दिनेशहरि नेपालीको यतिका वर्ष बितिसक्दा पनि कुनै खुट्पत्तो छैन । यता दिनेश सरकी प्रेयसी जुना तामाङ भने गाउँकै एउटा प्राइभेट स्कुलमा पियनको काम गरेर आफ्नो र दिनेश सरको प्रेमका निसानीहरूलाई जसोतसो बचाउने प्रयत्न गरिरहेकी छे ।

Page 19
कोसेली

क्रूर मौन

- राजव

अब उसको दृष्टिको भविष्य राता पुलिसको हातमा छ ।
यो वाक्य ‘ऊ कुन चीज हो ?’ शीर्षकको मेरो कथाको अन्तिम वाक्य थियो । राजधानीको एक प्रतिष्ठित त्रैमासिकमा निकै पहिले यो कथा छापिएको थियो । प्रतिक्रियामा पाठकहरूले प्रयोग गरेको शब्दमा भन्ने हो भने यसलाई  निकै पावरफुल कथा मानिएको थियो । तर, यो कथाबारे पाठकको जिज्ञासा सकिएको थिएन । विशेषगरी हरिसिंह कार्कीबारे उनीहरू निकै कौतूहलमा थिए । हरिसिंह कार्की कथाको नायक थियो । पाठक, दर्शकहरूको सहानुभूति  नायकतिर नै हुन्छ । खलनायकतिर के हुनु ? कोहीकोही पाठक खलनायकको पक्षमा पनि ढल्कन सक्छन् । यो कुरो पाठकको विचार, संस्कार, आर्थिक स्थिति, शिक्षा  र  रुचिमा भरपर्छ । यस मामलामा पाठकहरू स्वतन्त्र हुन्छन् ।
‘ऊ कुन चीज हो ?’ कथाका खलनायक राता पुलिसहरू थिए । कथामा काला पुलिस पनि थिए । दुवै, नायक हरिसिंह कार्कीका लागि खलनायक थिए । राता पुलिस र काला पुलिस  एकअर्काका अत्यन्त दुस्मन थिए । काला पुलिस सरकार पक्षका थिए, राता युद्धरत पक्षका । भर्खर संसदीय व्यवस्था उदित भएको महाकविको सानो सुन्दर नेपालमा दुवै घमासान लडेका थिए । युद्धभन्दा प्रचार र आतंक धेरै थियो । यो इतिहासको कुरो थियो । कथा हरिसिंह कार्कीको बारेमा केन्द्रित थियो । कथा अगाडि बढ्दै गएपछि राता पुलिसले हरिसिंह कार्कीको अपहरण गरेको होस उड्ने बयान आउँछ ।
कुरो संगीन थियो । माम्लो अपरहणको । अपहरणकारी माओवादी । टुंग्याउनका लागि कथा टुंग्याएजस्तो भयो । कथा अगाडि बढिरहनुपर्थ्यो । अपहरणपछि हरिसिंह कार्कीलाई राता पुलिसले कहाँ लगे ? मारे कि ? काटे कि ? छाडे कि ? के गरे ? कथाबारे पाठकका यस्तै  कौतूहलपूर्ण प्रश्नले मलाई लखेटिरहेका थिए । कति लखेटिनु ? त्यसकारण जवाफमा म यो पूरक कथा लेख्दै छु । पूरक कथा प्रारम्भ गर्नुपूर्व  ‘ऊ कुन चीज हो ?’ कथाको उपरोक्त अन्तिम वाक्यभन्दा अगाडिको प्रसंग के थियो त्यसको केही अंश उद्धृत गर्न जरुरी हुन्छ । तलका वाक्यहरू त्यसै प्रसंगका हुबहु उतार हुन् ।
ऊ फेरि चुप छ । आतंकित छ । रातमा चारैतिर स्यालहरूको हुइयाँ चर्किरहेछ । नजिकै राता पुलिसले आगो बालेका छन् । त्यसकारण उसको शरीरको एक छेउमा न्यानो राप परिरहेछ । माघको महिना भएको हुनाले वातावरणमा चिसो झन्झन् फैलिरहेछ । फेरि त्यही स्वरले सोध्यो, ‘साला तँ कुन चीज होस् ? कुन जिनिस् होस् ? हामीले जान्न चाहेको यै हो ...तँ  मन्डले होस् कि, सुन्डले होस्, कांग्रेस कि सीआईडी होस् ? कुन चीज होस् ...?’
‘मैले भनिहालें केही समयअगाडिसम्म म विद्यार्थी थिएँ ...अब जागिर खोज्न थालेको बेकारी भएको छु ...।’ 
‘योबाहेक तँ अरू के होस् ? तेरो बाउ कांग्रेस, तँ के होस् ?’
‘म गाउँमा हुर्के–बढेको साधारण किसानको छोरा हुँ । एउटा जागिर पाए म सन्तुष्ट हुने थिएँ । मेरो अरू कुनै सोख छैन, म आफ्नै स्वतन्त्रतामा रमाउने मान्छे हुँ ।’
‘के रे ...आफ्नै स्वतन्त्रता ? आफ्नै स्वतन्त्रताको कुरा बुर्जुवाहरू मात्र गर्छन्, थाहा छ तँलाई ?’ 
‘... ’
यसपछि उनीहरूले खासखुस सुरु गरे । खासखुसमा उनीहरूले यस्तो मान्छे शंकास्पद र खतरनाक हुन्छ भन्ने छलफल गरे । र, फेरि ऊतिर खतरनाक तरिकाले फर्के । 
रात वयस्क भइसकेको छ । अलिअलि जाडो र डरले उसको शरीर भित्रभित्र कामिरहेको छ । उसको आँखामा रातो पट्टी यथावत् कडासँग कस्सिएकै छ । अपरहणपछि उसलाई तीन मोटरसाइकलसहित ढुकेर बसेका अर्का राता पुलिसले बीचको मोटरसाइकल पछाडि बसाएका थिए । चालक रातो पुलिस थियो, ऊ पछाडि कोच्चिएर अर्को रातो पुलिस बस्यो । बीचमा पाउरोटीमा दलेको ब्ल्याक बेरी जामझैं ऊ बसेको थियो । त्यसपछि उसको अगाडि–पछाडि गरेर तीन मोटरसाइकल सक्दो रफ्तारमा बीस मिनेट हुइँकिएका थिए ।
अब पूरक कथा प्रारम्भ हुन्छ—
नकटुवा गाउँमा पुगेपछि तीनवटै मोटरसाइकलको ब्रेक लाग्यो । राता पुलिसले उसलाई हरदेव लालको खलिहानमा ओराले । नकटुवा गाउँको धनीमानी किसान हरदेव लाललाई माओवादीहरू एक नम्बरको गरिबमारा चुसाहा मान्थे । यो यथार्थ थियो । माओवादीहरूले उसको सब खेतका पाकेका धानबाली लुटेका थिए । खलिहान कब्जा गरेका थिए । हरदेव लालको त्यही खलिहानमा दस–आठ अरू राता पुलिस उनीहरूलाई कुरिरहेका थिए । मोटरसाइकलबाट ओरालेपछि राता पुलिसहरूले उसलाई भुइँमा थचारे । दुई राता पुलिस मिलेर उसको दुवै हात सन्ठीको डोरीले बाँध्न उसको नाडी समाउँदै थिए । उसको आँखामा रातो पट्टी यथावत् कस्सिएकै थियो । ऊ चर्को त्रासमा थियो । र, पिसाबले उस्तै च्यापेको थियो । अपहरणको आतंकमाथि पिसाबको तोडले ऊ थप यातनामा देखिन्थ्यो । यसबाट उम्कन कुन बेला कट्टु खोल्न पाउँलाको जपमा रहेको उसले हात बाँध्न खोजिरहेका राता पुलिसलाई त्रसित स्वरमा भन्यो, ‘मैदान जाए
के बा ।’
‘लम्हर कि छोट्का रे चुतिया ?’ 
‘छोट्का ।’
निर्दयी हाँस्दै तिनले उसलाई भनेका थिए, ‘कट्टुमै फेर ।’ 
अर्को कुनै सिनियरले तिनलाई हप्काउँदै अह्रायो, ‘अबे बेवकुफ स लबरतिनु काहे ? फेरवा के ल्याव स जल्दी ।’ 
अर्डरमुताविक तुरुन्त तीमध्ये दुई राता पुलिसले उसको पाखुरा समाउँदै भनेका थिए, ‘चल चुतिया ।’
तिनले उसलाई घचेड्दै छेउको खेततिर लगे । र, ऊ पछाडि उभ्भिँदै भने, ‘चल, होक ।’
यो आदेश पाएर उसले फस्नर खोलेको थियो । केही बेरमा ऊ हल्का भयो । त्यसपछि तिनले उसलाई खलिहान फिर्ता ल्याए । डोरी लिएर उसलाई कुरिरहेका अर्का तीन राता पुलिस मिलेर उसका दुवै हात बाँधे । र, भने, ‘बैठ भेडी चो... ।’
सुन्नासाथ ऊ चिसो भुइँमा थचक्क बसेको थियो । खलिहानको बीचमा ठूलो दायराको घुर बालिएको थियो । त्यसको राप उसको भागमा पनि अलिअलि आइपुगेको थियो । त्यहाँ भएका राता पुलिस कमरेड लालबहादुर कुर्मीको प्रतीक्षामा थिए । ऊ वीरगन्जबाट मोटरसाइकलमा आउंदै थियो । कमरेड लालबहादुर त्यताका योद्धाहरूको कमान्डर थियो । ऊ र केही कमरेड फिरौती र चन्दाको रकम असुल्न वीरगन्ज गएका थिए । असुलीको त्यही रकम कोचेको ब्याकप्याक अँठ्याएर ऊ फर्कंदै थियो । ऊ कमरेड हितनारायण कोइरीले हाँकेको मोटरसाइकलमा थियो । सुरक्षाका लागि खटेका अरू चार मोटरसाइकल उसको अगाडिपछाडि गति मिलाएर कुदिरहेका थिए । तिनैको प्रतीक्षामा थिए, खलिहानमा घुर तापिरहेका कमरेडहरू । ती कमरेडमध्ये एउटाले बाँकी कमरेडलाई आदेश दिएको थियो, ‘चल गाव स ।’
यो लाल अर्डर सुन्नासाथ जनवादी ढोलकियाले ढोलक ठटाउन थाल्यो । त्यसको तालमा अर्कोले खैंजडी बजायो । यी दुवै बाजाको सम्मिश्रित तालमा बाँकी गर्जंदै गाउन थाले–
जनता के चलाव पलटनियाँ हो चलाव पलटनियाँ  हिलाव जिमिंदरवारवा हिलाव सिंहदरबारवा जनताके चलाव पलटनियाँ  हिलाव कठमंडु हिलाव दुस्मनवाँ  हिलाव मन्त्री हिलाव सन्त्री 
जनता के चलाव पलटनियाँ हो चलाव पलटनियाँ मौन कामिरहेको ऊ तिनको लालगान लीला सुनिरहेको थियो । तीमध्येको एउटालाई उसको मौन असह्य भएछ । कड्कियो, ‘अरे ओ सकार के चुतर हम्नी के गीत तोहरा के भात नै खे का ?’
‘एकरा के छौंडी के गीत न सुनाद, मजा ली  !’
यो कुरोमा सब गलल हाँसे । तिनले उसलाई आदेश दिए, ‘चल हम्नी सँगे गा, चल बोल ।’
भारतीय कम्युनिस्ट पार्टीको जनसंगठनले गाउने गीतलाई तिनले आफ्नो सन्दर्भमा ढालेर गाउने गरेका थिए । हरिसिंह कार्कीलाई यसको ओरिजनल गीत पनि आउँथ्यो । ऊ तीसँगै त्यसको प्यारोडी गाउन थाल्यो–
हिलाव दुस्मनवाँ हो हिलाव दुस्मनवाँ  जनता के चलाव पलटनियाँ   हिलाव दुस्मनवाँ  तिनको गानबीच टाढाबाट मोटरसाइकलको घर्रघर्र, ढटढटको कर्कश आवाज आउन थाल्यो । गाना रोकेर एउटाले भन्यो, ‘बुझा ता कमरेड स ।’
अर्कोले कान थाप्दै भन्यो, ‘वैसने बुझाता ।’
तिनको अन्दाज सार्थक पार्दै एक छिनमा गडगडाएर चार व्रायल इनफिल्ड मोटरसाइकल खलिहानछेउ आएर रोक्किए । कमरेडहरू फुर्तीका साथ त्यसबाट फटाफट ओर्लिए । खलिहानका भुरा कमरेडहरू सब उठे । ऊ पनि उठ्यो । सब एकसाथ गर्जिए, ‘लाल सलाम कमरेड ।’    
‘लाल सलाम, लाल सलाम ।’
कमरेड लालबहादुरले उसको अनुहारमा टर्च बाल्दै सोध्यो, ‘इए ह रघुनाथपुर गाँव के कंग्रेसिया के डाउटफुल बेटवा ?’
‘जी कमरेड ।’
उसको हात, मुख घुर्दै लालबहादुरले आदेश दियो, ‘यसको आँखाको पट्टी, हात खोल्दे, अब यो भाग्छ काँ, भागे मर्छ ।’ लालबहादुरले वीरगन्जसँग जोडिएको सीमावर्ती भारतीय सहर रक्सौलको एक भुच्चढ पुलिससँग किनेको पिस्तोल देखाउँदै भन्यो ।
सँगैको कमरेड आदेश पालन हेतु उसको आँखाको पट्टी, हातको डोरी फुकाउन अघि सर्‍यो । लालबहादुरले आफ्नो क्यामोफ्ल्याग पाइन्टको खल्तीभित्र पेस्तोल घुसार्‍यो । आदेश पालन गर्नेले उसको आँखाको पट्टी, हातको डोरी फुकायो । र, पर घुरमा हुर्‍यायो । डोरीबाट मुक्त भएपछि उसका हात निकै हल्का भए । उसका आँखाले रातको धर्ती देख्न पाए । कहाँ छु भन्ने बुझ्न पाए । बन्धनका उसका हात चिसोले निकै कठ्यांग्रिएका थिए । र, शून्य हुन थालेका थिए । तिनलाई तताएर ज्यान फुक्न उसले दुवै हात माड्न थाल्यो । बेथनापुर हाइस्कुलको शिक्षक मारिएझैँ मारिने हुँ कि ? वा अर्को कुनै यातना दिएर यिनले सताउने हुन् कि ? त्रस्त ऊ यस्तै, यस्तै सोच्दै  थियो । उसको मुन्टो भुइँतिर झुकेको थियो । रात उक्लिरहेको थियो र चिसो निकै बढेको थियो । उसको जीउमा सुइटर, मफलर पनि थियो । तर, त्यसले उसलाई पुगिरहेको थिएन । डर, चिसो, जाडोले ऊभित्र कम्प चलिरहेको थियो । बतासको थप्पड खाँदै भर्खर मोटरसाइकलबाट ओर्लिएको लालबहादुरका, नाक कान, हात पनि चिसै थिए । घुरको ज्वाला हेर्दै लालबहादुरले उसलाई भन्यो, ‘चल घुर लगे ।’ लालबहादुर हात माड्दै घुरतिर लाग्यो । तर, ऊ यथास्थानमा पूर्ववत् विवश उभ्भिइरहेको थियो । लालबहादुरले ‘चल घुर लगे’ कसलाई भनेको हो उसले बुझिरहेको थिएन । उसलाई पहारा दिइरहेको एक कमरेड कड्क्यो, ‘अरे कुत्ता के दुम सुनत नैख का कमरेड का कह ताडेन ?’
यसपछि ऊ घुरतिर गयो । लालबहादुरले उसलाई आफूसँगै बस्न अह्रायो । घुरको न्यानो पाएर उसको शरीर बिस्तारै फुक्न थाल्यो । लालबहादुरले केरकारको पहिलो प्रश्न सोध्यो, ‘रघुनाथपुर किन आएको रे ?’
‘म घरमा आएको हुँ, मेरो गाउँ हो ।’
‘कसको छोरा ?’
‘रामसिंह कार्की ।’
‘ए ! त्यै कांग्रेसीको छोरा पो, अच्छा । कत्ति दिन भयो गाउँ आएको ?’
‘दस दिन ।’
‘के उद्देश्यले आएको ?’
‘म आफ्नू घर आएको हुँ ।’
‘यो दस दिनसम्म बस्नुको मतलब ?’
‘आफ्नो घर हो, जहाँ पूरै जीवन बिताइन्छ ।’
‘त्यो त हो, तर दस दिनमा कांग्रेसी गतिविधि पनि खुब गरियो होला नि ?’
‘म कांग्रेसी हैन ।’
‘बाउ कांग्रेस, छोरो के त ?’
‘मान्नुस्, मेरो संलग्नता कुनै पार्टी
वार्टीसँग छैन ।’
‘हाम्रो सुराकीमा खटिएर आएको त हैन ?’
‘यो सुन्दा पनि मलाई घृणा लाग्छ ।’ 
‘अनि काठमान्डुमा के गरिन्थ्यो ?’
‘पढ्थेँ ।’
‘के ?’
‘एम ए ।’
‘कुन विषय पढेको ?’
‘अंग्रेजी साहित्य ।’
‘सेक्सपियर मात्र पढ्या छ कि मार्क्स पनि पढ्या छ ?’
‘दुवै पढ्या छु ।’
‘एंगेल्स को हो थाहा छ ?’
‘छ ।’
‘कम्युनिस्ट मेनिफेस्टोबारे जानकारी छ ?’
‘छ ।’
‘विश्व सर्वहाराका नेता, महान योद्धाहरू लेनिन, स्टालिन, माओ, चे, चुतेह, क्यास्ट्रोबारे जानकारी छ ?’
‘छ ।’
‘बोल्सेविक पार्टीबारे ज्ञान छ ।’ 
‘छ ।’ 
‘मेनसेविक र बोल्सेविक पार्टीबीचको भिन्नता थाहा छ ?’
‘छ ।’
‘अक्टोबर क्रान्तिको बारेमा जानकारी छ ?’
‘छ ।’
‘चिनी क्रान्तिबारे अध्ययन छ ?’
‘छ ।’
‘महान् क्रान्तिपुरुष माओलाई पढेको छ ?’
‘छ ।’
‘होची मिन्ह, चाउ एनलाई को हुन् थाहा छ ?’
‘छ ।’
‘यत्ति अध्ययन भएको मान्छे, कम्युनिस्ट नभएर मूर्ख किन भएको ?’
अब यो प्रश्नमा के भन्नु ? यसमा ‘छ’ मात्र चल्नेवाला थिएन । त्यसकारण ऊ पूर्ववत् ओठबन्दीमा लाग्यो । लालबहादुर कड्क्यो, ‘यत्ति धेरै अध्ययन हाम्रो सुराकी गर्न त
गरेको हैन ?’
‘मैले भनिसकें म यो कर्मलाई घृणा गर्छु ?’
‘त्यसो हो भने कम्युनिस्ट किन नभएको ?’
‘मलाई स्वतन्त्र हुन मन पर्छ ।’
‘देशमा यस्तो अन्याय, अत्याचार, शोषण, गरिबी छ । तिमी यत्ति पढेको मान्छे स्वतन्त्र बस्न मिल्छ ?’
‘हेर्नुस्, मलाई यहाँ ल्याउने तपाईंका कार्यकर्तालाई पनि भनिसकेको छु म केही हैन जागिर खोजिरहेको बेकार हुँ ।’
‘आफू मात्र जागिर खोज्ने कि लाखौँ बेरोजगारलाई काम दिने व्यवस्था स्थापनामा लाग्ने ?’
यस्तो महान् विचार नकार्ने उसको के सामर्थ्य ? लज्जित मुद्रामा ऊ मौन भयो ।  
एक छिन कमरेड लालबहादुर पनि मौन भयो । वरिपरि छरिएका, घुरमा हात–ढाड सेकिरहेका राता पुलिसहरू, कमरेडहरू सब अदब मुद्रामा मौन थिए । गाउँका फटिचर कुकुरहरू मात्र भुकिरहेका थिए । उखुबारीभित्र पसेका स्यालहरूको हुइँया पनि रोक्किएको धेरै भइसकेको थियो । यत्तिकैमा साम्यवाद अहिल्यै खस्छ कि भनेझैँ गरेर एकाएक लालबहादुरले आकाश हेर्न मुन्टो ढाडपछाडि ढल्कायो । फेरि सीधा पार्‍यो । एकाएक केही सम्झेझैं गरेर भन्यो, ‘अँ यत्ति धेरै पढेको तिमी हाम्रा कार्यकर्ताहरूलाई पढाउन सक्छौ ?’
त्रस्त सोचमा डुबेको ऊ अलि हल्का भएको थियो । अरू कमरेडको कान अब यसले के भन्ला भन्ने सुन्न ठाड्ठाडा भएका थिए । उसले बिस्तारै भन्यो, ‘सकुँला ।’ 
लालबहादुर फेरि कड्क्यो, ‘सकुँला कि सक्छौ ?’
‘सक्छु ।’
‘तिनलाई तिमीले सैद्धान्तिक प्रशिक्षण दिनुपर्छ ।’
‘हस् ।’
यो उसको ज्यान जोगाउने जवाफ थियो । ऊ निकै कम्पकम्पीमा थियो ।
‘त्यसो हो भने ल सुन, तिमीले चार महिना यिनलाई, मार्क्स, माओ, लेनिन, चे, क्यास्ट्रोलगायत कम्युनिज्मको सब बेसिक सिद्धान्त पढाउनुपर्छ । तिमीले चाहने हो भने हामी तिमीलाई संगठनात्मक तालिम दिन्छौं । तर, कर गर्दैनौं । हाम्रा कमरेडलाई प्रशिक्षण दिँदादिँदै के ठेगान तिमी आफैं कम्युनिस्ट भयौ भने खुसीको कुरा हुनेछ, नत्र केही छैन, त्यसपछि हामी तिमीलाई सुरक्षित मुक्त गर्नेछौं, हुन्छ ?’
हुन्न भन्ने उसको के सामर्थ्य । उसले लुत्रुकिएर भनेको थियो, ‘हस् ।’
‘तिमी तोकेको चौहद्दी छोडेर कहीँ जान पाउँदैनौ, तिम्रो खानेबस्ने सुरक्षित व्यवस्था हुनेछ । त्यतिन्जेल तिम्रो हालचाल, तिम्रो परिवारलगायत कसैले पनि पत्तो पाउनेछैन ।’
‘हस् ।’
लालबहादुर कमरेडले उसको भविष्यको यस्तो निर्धारण गरेपछि कार्यकर्ताहरूले उसलाई गाउँकै कुनै कमरेडको घरमा लगेका थिए । घरको ओसारामा भेला हुने जुझारु कमरेडहरूलाई ऊ कम्युनिस्ट मेनिफेस्टोदेखि विश्व कम्युनिस्ट आन्दोलनको सब अवयव र त्यसका सैद्धान्तिक पक्ष सरल ढंगमा पढाउन थाल्यो । प्रशिक्षण रातिराति लालटिनको उज्यालोमा हुन्थ्यो । दिउँसो कार्यकर्ता कहाँ जान्थे, के गर्थे उसलाई थाहा हुँदैनथ्यो । यो उसको वास्ताको कुरो पनि थिएन । ऊ बिल्कुल बन्दी प्रशिक्षक भूमिकामा थियो । कसले, कसरी निगरानी गरिरहेछ भन्ने उसलाई पत्तो हुँदैनथ्यो । भाग्ने कोसिस नगर्नू भन्दै उसलाई यसको हिदायत दिइएको थियो । ऊ दिनरात सशंकित र त्रस्त भइरहन्थ्यो । पहिलो ब्याचका पच्चीस जनालाई उसले प्रशिक्षित गरिसकेको थियो । दोसो ब्याचकालाई पढाउने काम चलिरहेको थियो । 
यस ब्याचकालाई प्रशिक्षण दिन थालेको चौथो रातको कुरो थियो । त्यस रात यो ब्याच, लगभग डेढ सय पुलिस र सैनिकको भयानक संयुक्त रेडमा परेको थियो । यो रेड अमेरिकी नेभिसिलले गरेको रेडझैं सब साटसुट, पाटपुटमा भएको थियो । कोही उम्कन पाएनन् । एकाएक सब जालमा परेको पोठिया माछा भएका थिए । घरका परिवारसमेत क्याप्चरमा थिए । एकएकलाई ट्रक र भ्यानमा हालेर दस कोस परको सैनिक ब्यारेक लगिएको थियो । त्यसपछि तिनको के हाल भयो अहिलेसम्मको पत्तोमा छैन । तिनलाई बेपत्ता मानिएको छ । माओवादीहरूले तयार गरेको आफ्ना कार्यकर्ताको बेपत्ता लिस्टमा ती सबको नाम छ । तर, त्यहाँ हरिसिंह कार्कीको नाम छैन । यो कथामा बाहेक हरिसिंह कार्कीको नाम कतै उल्लेख छैन । लिस्टबाट पनि बेपत्ता छ, हरिसिंह कार्की । पत्तो हुने लालबहादुर अहिले सरकारमा छ । तर, मौन छ ।   
प्रशिक्षण दिँदादिँदै हरिसिंह कार्की आफैँ चेजस्तो क्रान्तिकारी हुने निर्क्यौलमा पुगिसकेको थियो । यो कुरो उसको भविष्यवाणी गर्ने लालबहादुरलाई पत्तो भएन । प्रशिक्षार्थीहरूले बिस्तारै कमरेड हरिसिंह कार्कीलाई बुझ्दै थिए ।

Page 20
कोसेली

बेपत्ताकी डाई

स्टिल गिलासमा पानी, थालमा भात र कचौरामा दाल । छोरोलाई भनेर अङ्नामा राख्छिन् आमा । त्यसपछि रोइनाले खाइरहेछन्, जसरी फरक्क फर्केर हेर्छिन् । १८ वर्षदेखि लगातार अङ्नामा राख्दा थाल थोत्रिएछ । कचौरा कुच्चिएछ ।
- नवीन विभास

छोरो ‘टुप्लुक्क’ आइपुग्ला कि भनी १८ वर्षदेखि बाटो हेरिरहेकी एउटी आमा आफूले खानुअघि छोरालाई खाना पस्केर अङ्नामा राखिदिन्छिन् । रातदिन छोरा–खोजरत उनै दाङ सिस्सन्याकी ६९ वर्षीया आमाको एक दिनको दैनिकी हो यो । त्यो एक दिन अर्थात् २०७६ पुस २८ को ।

बिहान १०ः५७ बजे
सिस्वागँन्ज्रिनेर पुगेपछि उनका खुट्टा एकाएक ‘मूर्ति’ बन्छन् । लगत्तै उनको मुखबाट झर्छ, ‘गँन्ज्री ओराइल ट के भ्युरा फुलैल बा !’
आज त भ्युरा फुलाएको सिस्वागँन्ज्रीमा थारू बस्ती माछा मार्न निक्लनुपर्ने हो । तर, सिस्वागँन्ज्री त तालमा परिणत भइसकेको छ ।
हिँड्न आनाकानी गर्नेदाया खुट्टानेर कालो कुकुर लुट्पुटिन्छ । त्यसपछि ‘कुइँकुइँ’ गर्छ ।
‘कहाँ जैना हो मच्छी मार ? आब डेउटन का चर्हैना, का खवैना पहुनन् ? टलवक मच्छी खरिडना पैसा नै हो,’ देउतालाई चढाउने र पाहुनालाई खुवाउने माछासँगै थारू सामूहिक जीवन गँन्ज्री यादमा बतासिन्छिन् ।
सिर्गोट्या स्वरमा ‘सक्ख्या’ सुसेलेको कहाँनेर ? बलदेव उपाध्यायको कमैया ठगुसँग ‘पिरम’ मा पर्नुअघि मन माझेको बाँसघारी कहाँनेर ? परिवार, गोत्यार र टोलले भ्युरा फुलाएको कहाँनेर ? ठम्याउन झन् मुस्किल हुन्छ– कहाँनेर हो, दिल दिएको ठगुलाई भेटेको ?
कुकुर भुकेपछि सिस्वागँन्ज्री सेकुरिटीरत सिसौ डालीबाट काग भुर्र उड्दै अर्को डालीमा सर्छन् ।
‘भ्युरा फुलाएको गँन्ज्रीमा भोलिपल्ट माछा मार्न जान तयार’ उही भयानक रात आँखामा फर्केपछि करिब १०० मिटर दक्षिणमा अवस्थितघर जान उनका खुट्टा धान कुटिरहेको ढिकीजसरी पुकुलढ्याक पुकुलढ्याक गर्न थाल्छन् ।
उनको साथी अर्थात् कालो कुकुर घरी अघि लाग्छ त घरी पछि ।

बिहान ११ः१३ बजे
अङ्नाबाट एक हूल गिउँरा भुर्र उड्छन् । पछ्याउँदै एकजोर बुर्‍या–आँखा गिउँरासित लिची डालीमा लक्कु खेल्छन् । ठीक त्यसैबेला सिर्गोट्या सिसौडालीमा सुसेल्छन्, ‘स्याऽऽऽस्याऽऽऽ स्याऽऽऽस्याऽऽऽ ।’
कुकुर एकदुई आखर भुक्छ ।
सिर्गोट्याबाट तिनका आँखा फर्केर अङ्नाका थाल, कचौरा र गिलासमा बस्छन् ।
अग्ली र पातली । तर,धेरै फल्दा कुप्रिएको आरु हाँगा भएकी उनको साँवलो अनुहारभर च्याउ उम्रेका छन् । पिडौला र पाखुराका मयूरसमेत जाडोले ‘झाँक्री’बसिरहेछन् ।
सूर्य ठीक माथि देखापरेपछि हुस्सुले होस हराउँछ । चिउडोमा बायाा हात टेको लगाई कम्तीमा १० मिनेट अङ्नामै घाम ताप्छिन् । २० मिनेटपछि कलेजी–रङे गट्या भुइँमा राख्छिन् । आँखा अल्झन्छ—सेतोरङे गोन्याबाट एक्लाएक्लै बाहिरिएका त कतिले बाहिरिन साइत कुरिरहेका धागोमा ।
कौरा खाइरहेका ल्हौरा र ल्हौरिया–गुनगुन गायब हुन्छ । के सम्झेर कुन्नि ? सुनसान भकारामा पुग्छिन् । झोक्राइरहेको मेवा–बोट हेर्छिन् । भकारामा न गाई/गोरु छन् न तिनका जीउमा बसेर झिँगा र किर्ना खाँदा ससिल्याउने सिर्गोट्या । ‘च्याङ्फा’ दाङ पसेपछि भकारा सुनसानिन थालेका छन् ।
‘ख्वाइएऽऽऽ !’
खोकेको आवाज पछ्याउँदै उनको दाया हात गोभन्नामा पुग्छ । सास फेर्दासमेत ‘गोभन्ना चुँडिए केले गोन्या अड्याउने’ भनेर ‘हेक्का’ राख्नुपर्ने बेला खोक्दाखेरि छाम्ने नै भइन् ।
एक छिनपछि भकाराबाट घरभित्र जान्छिन् । एकतले घरको छानोमा ढुंगा खसेजस्तो आवाज आएपछि झस्कँदै हेर्छिन् । खपटाले आउने बर्खा धान्लाजस्तो छैन । तर, छानो फेर्ने हब्बा छैन ।
उत्तर–दक्षिण फर्केको परम्परागत थारू घरभित्र पसेपछि डेहरीनेर पुग्छिन् । अस्टिम्की चित्र नाच्छन् । पूर्वोत्तर कुनाको डेहुरारमा ठिंग उभिन्छिन् । लगत्तै डेहरीनेर ।
दलिनमा भौका तुर्लुंग झुन्डिएको छ ।
भौकामा आँखा जुध्नेबित्तिकै दाया हात छातीमा पुग्छ । त्यसपछि खुट्टामा । बन्दुक कुन्दाको चोटले छातीमा रगत जमेको छ भने खुट्टा हिँड्न अन्कनाउँछ । बलात्कारपछि गुप्तांगबाट बग्न थालेको रगत–कुलो जारी छ ।
आमा–मन भन्छ, ‘मतलमाथि भए,मेरो रोइनालाई कोले खाना पस्किदेला ?’

दिउँसो १२ः३७ बजे
खुबै फलेको आँप–बोटनेर टोलाउँदै छिमेकीले समेत ‘रोइनाले कति खाँदो हो’ भनेका हुन् । रोइनाले रोपेको आँपघर अगाडि आमालाई सम्झाउँदै ठिंग उभिएको छ । भित्रबाहिर गर्दा रोइना सम्झेर उही आँपको बोटमा अडेसिन्छन् । आँप–बोटमा अडेसिएर अङ्नामा खाना पस्केको थाल हेर्दै पुरानो याद बल्झन्छ—करिब ६९ वर्षअघिको कुरो हो ।
बतासको सुइँसुइँमा सुत्केरी व्यथावाल आमा चिच्याहट खापिन्छ । करिब अढाई घण्टापछि नवजात शिशु रुवाइ ।
अनि ?
आमा चिच्याहट रोकिन्छ ।
बतास चलिरहेको बेला जन्मेकी नवजात शिशु नाउँरहन्छ, ‘बटासी ।’
ढिकी कुटेजसरी छोरा–खोजमा बतासिइरहेकी उनै आमा त हुन्, बटासी ।
जहाँ गँन्ज्री त्यहाँ थारू बस्ती । चिरामा पानी, बाँसघारी, काँसघारी, खर्सेट्टी झाँडी, रूखपातवाल भूभागलाई थारूले गँन्ज्री भन्छन् त ‘पहारी’ ले सोता । सिस्वागँन्ज्रीमा साना–ठूला कदे चिरामा पानी बास बस्छ । पानी–बासी माछा छन् । तिनै चिरामा दसैँलगत्तै सेउला, सोत्तर, बेश्रम्मा, मकैडाँठ, पराल, घाँसलाई ढुंगाले अचेट्छन् । दुई–चारकिला ठोक्छन् । गँन्ज्रीमा भ्युरा फुलाउँछन् । परिवार, गोत्यार र टोलले भ्युरा फुलाएको ‘चिनो’ लाउँछन् । माघ लाग्नुभन्दा दुई दिनअघि डुक्नीले पानी फाल्दै हेल्कामा चरिङ्ङे, गुइँटना, बाम जातका माछा र गंगटा मार्छन् । माघ १ गते एकाबिहानै नुहाइ–धुवाइपछि माछा र अक्षतासाथ मटवाँकहाँ पुग्छन् । देउतालाई माछा चढाउँछन् ।
जिम्दार परशुराम उपाध्यायको कम्लरीलाई ल्हौरिया भन्छन् । बिस्तारै परशुराम तीनपुस्ते ‘जिम्दार आँखा’ ले डस्छन् । भन्न थाल्छन्, बठिनिया ।
एक दिनको कुरा हो ।
दिल दिएको ‘ठर्‍या’ ठगुसँग बठिनियाले घरजम गर्छिन् । तीन–चार थारू महिलाले दुई–तीनवटा सियो टुप्पाले पिडौलामा एकसाथ खोप्छन् । खोपेको भागमा चिनी, गोबर, कोइला घोलेर दल्छन् । त्यसपछि ? पिडौलामा मयूर बस्छन् । पिडौलामा झाँक्रीजसरी काँपिरहेका ती मयूर त्यसै बेला बास बसेका हुन् ।
पिडौलामा मयूर बसेपछि बटासीलाई ‘जन्नी मनै’ भन्छन् त बटासी–पति ठगुलाई ‘ठारू मनै’ ।
बटासी चार छोरा र तीन छोरीका आमा बन्छिन् । कान्छा साउदीबाट ‘बाकस’ मा फर्कन्छन् । कान्छी बुहारीले दुई वर्षपछि अर्को घरजम गर्छिन् । अहिले नातिनी उनै बुहारीसँग छिन् ।
माइली छोरीको लक्ख्वारमा बिहे भएको छ ।
साइँला बेपत्ता । बाँकीमध्ये कति बच्पनमै त कति तन्नेरिन थाल्दा मास छर्छन् ।

दिउँसो ३ः११ बजे
घरदेखि दुई सय मिटर पूर्व पुगेलगत्तै बटासी–खुट्टामा ब्रेक लाग्छ । ठीक त्यसैबेला चारतला घरको छतबाट टाउकोमा कुनै जिनिस फुट्ट खस्छ । कागे हग्यो भनेर छाम्छिन् । चिसो लाग्छ । घरको चौथो तलामाथि टाइसुट र दारीवाल अधबैंसे पान चपाउँदै छन् ।
गट्याले पुछ्दै भएभर गाली गर्छिन् । तर, भुइँबाट त्यति माथि त्यो गाली टाइवालाकहाँ कसरी उक्लन सक्नु !
समय फेरिन्छ । जिम्दार जग्गामा झन्डा गाड्ने पार्टी नै सरकारमा पुग्छ । पुलिस पठाउँछ । अँधियावाल थारू खेदेर जिम्दार, जग्गा दलाल र झन्डा गाड्नेवालले ‘प्लटिङ’ गर्छन् ।
‘कठ्ठें हो, ठगुक जोट्लक ? कठ्ठें रगेड रगेड मुँस मर्लक ? लाल झन्डा गर्लक कठ्ठें हो,’ पति ठगुले जोतेको, खेदीखेदी मुसा मारेको, हसियाँ हथौडा–अंकित रातो झन्डा गाडिएको अँधिया खेत कहाँनेर हो भनेर सम्झन कोसिस गर्छिन् ।
ठगुले जोतेको खेतमा अग्लाअग्ला घर उभिएका छन् त कति उभिन तर्खरिंदै । झन्डा गाड्ने ‘कमरेड’ बोली कानमा ‘रिप्ले’ हुन्छ, ‘जग्गा कसको ? जोत्नेको । घर कसको ? पोत्नेको ।’

दिउँसो ३ः२९ बजे
‘डाई, भुँख लागल ।’
जुँगा उस्तै । आँखा उस्तै । कपाल उस्तै । बस्, कमैया छाडी फर्निचरमा काम थालेका रोइना ‘आमा, भोक लाग्यो’ भनिरहेछन् ।
भात पस्केर दिँदा अडेसिएको आँपको फेदमा हात ठोक्किएपछि बटासी ब्युँझन्छिन् ।
लामो अन्तरालपछि रोइना आमा सपनामा आउँछन् । पहिले सपनामा ‘धेरै देखेर’ होला, आमा सपनामा रोइना आउन छाडेको ।
आँपको फेद अडेसिएर घाम ताप्दा झमक्क निदाएकी हुन् ।
आँखा मिच्दै बटासी जुरुक्क उठ्छिन् ।
भित्र पसेर बरीनेर उभिएर भन्छिन्, ‘टुऽऽऽरटुऽऽऽर टुऽऽऽर टुऽऽऽर ।’
‘कोट्कोट्’ गर्दै जवाफ दिने भाले बरीमा छैनन् ।
दिवंगत नाति र बुहारी सम्झन्छिन् ।
सरासर तुर्लुंगिएको ‘भौका’नेर जान्छिन् ।
कमान्डर कासन कानमा फेरि बज्छ, ‘फायर !’
बन्दुके गोलीले कालिज भुइँमा भुट्ट खसेजसरी भौका भुइँमा खस्छ । एकपालि होइन । सयौंपालि । डेहरी फुटाएर धान रेल्लाएको नि सयौँपालि ।
हो, उही भौका झिकेर हेर्छिन् । छन्–खुट्टामा लाउने सिल्टीका कारा, चिर्‍वा, पैरी । खुट्टाको औंलामा लाउने भिछा । हातमा लाउने ककनी रटर्‍र्या । कानमा लाउने झिल्मिलिया । रोइनाको जिन पाइन्ट र प्लास्टिकले बेरेको बिजोर चप्पल । कोन्टीभित्र पसेको ‘दुब्लो उज्यालो’ मा रोइनाको पाइन्ट र चप्पल–बाटो भएरआमा–मन भक्कानो भएर ओरालिन्छ ।

१.
कुरो २०५८ पुस २७ गते मध्यरातको हो । अर्थात् सबभन्दा ठूलो पर्व ‘माघ’ मनाउन थारू गाउँ नै भोलि माछा मार्ने, पर्सि सुँगुर काट्ने र निकुर्सि ‘सखी ए हो, माघक पिली गुरी जाँर’ गाउने ।
मध्यरातमा ‘ढ्याङ्ङ ऽऽऽ’ आवाजसँगै बन्दुकभित्र पस्छन् । ‘भरेभोलि’ भएकी बुहारी कोन्टीमा चिच्याउँछिन् । लगत्तै छोरा रोइना ।
सानो छँदा धेरै रोएकाले साइँला–पुत्रको नाउँ राखिदिएका हुन्, रोइना ।
मध्यरातमा बुहारीको इज्जत र छोराको ज्यान जोगाउन अनुनय गर्छिन् । एकपालि होइन, सयपालि । त्यही अनुनय दुई वर्षपछि पति बचाउन दोहोर्‍याउँछिन् । तर, उनको छातीमा तेर्सिएर बन्दुक सर्त सोझिन्छ, ‘...दिन्छस् भने तेरो पोइ बच्छ ।
नत्र ...।’ उनले तुलामा ‘इज्जत’ र पति ‘प्राण’ राख्छिन् । पति प्राण भारी लाग्छ ।
त्यसलगत्तै डेहरी दायातिर रक्तमुछेल ठगु ढल्छन् त बायातिर बलात्कृत बटासी ।
‘म्वार ट साँस किल बा, का कर मुव नै डेल्या !’ बन्दुक बाटो लागेको डेढ घण्टापछि मुस्किलले निक्लेको ठगु–बोली बन्दुकजसरी पड्कन्छ । उपचार–अभावले एक महिनापछि ठगु ‘माथि’ लाग्छन् ।
त्यो मध्यरात लुगासमेत लाउन नदिई बन्दुकले रोइना लान्छन् । भोलिपल्ट गँन्ज्रीमा माछा मार्न तयारिएका डुप्का र हेल्का तितरबितर भएका छन् ।
कोन्टीमा चिच्याउने रक्तमुछेल बुहारी र नाति चार दिनको अन्तरमा नफर्कने बाटो लाग्छन् ।

२.
‘चप्पल !’
भौनी आवाजसँगै हुस्सुले हुस्सिएको खर्सेट्टी झाँडीतिर दगुर्छन् ।
‘रोइनाको चप्पल ।’
बन्दुकले रोइना लगेको भोलिपल्ट झाडीनेर एउटा चप्पल हिलो र रगतले लटपटिएको भेटिन्छ । रोइना नै भेटिएजसरी उत्तानो परेको बाया चप्पल नियाल्छन् । एक साताअघि घोराहीमा साठी रुपैयाँमा किनेको भोटाक्या चप्पलको दाया पनि खोज्छन् ।
रोइना खोज्दै बन्दुक–खाना पुग्छन् ।
बुट्कामा ‘बेरी’ लिएर छोरा–खोजमा निक्लेकी बटासी बन्दुक–खानामा ‘छोरा भोकायो होला’ भन्दै अनुनय गर्छिन्, ‘छावा भँखाइल हुई ।’
‘मा...बूढी, निक्लिइस् कि उडाइदिम् ।’
बन्दुक नाल छातीमा सोझ्याएपछि बेरी बन्दुक–खानामै छोडेर निक्लन्छिन् ।
भोलिपल्ट फेरि पुग्छिन् । भन्छन्, ‘फोटो लिएर आ बूढी । फोटो नहेरी कसरी चिन्ने, तेरा छोरो ।’
नागरिकता बनाउँदा खिचाएको एउटा पानीफोटो हात पार्छिन् । वल्टाइपल्टाइ पारेर भन्छन्, ‘ह्याँ छैन, बूढी ।’
‘कहाँ जाई ?’
‘तेरो छोराको हाम्ले ठेक्का ल्याछम् ?’
थचक्क बस्छिन् ।
बटासीलाई फुटबल बनाएर बन्दुकले गेट निकाला गर्छन् ।

३.
भौकामा राखिएका रोइना सामानमा आमामन ओरालो झरिरहेको बेला ‘बडाई’ भन्दै भतिज खुसे ख्वास्स पस्छन् ।
खुसे र रोइनासँगै हुर्केका हुन् । कमैया बसेका हुन् । खुसे बन्दुकबाट संयोगले बाँचेका हुन् । अहिले त बन्दुक यति ‘थारू–फोबिया’ छ भने त्यो जुगको के कुरा !
भौकासँग भक्कानिएकी बटासीलाई सम्झाउन खुसे कोसिस गर्छन् ।
जिन्दगीमा खिचाएको उही नागरिकतावाल पानीफोटो पनि बन्दुक–खानामा गायब भएपछि आमाले खुसे हेर्दै रोइना–तिर्खा मेट्छिन् ।
भौकामा सामान राखेर दलिनमा झुन्ड्याउँदै खुसे सोध्छन्, ‘बडाई ! काठमान्डुसे कहिया अइली ?’
‘परौं ।’
छोरा–खोजमा काठमाडौं पुगी बटासी
फर्केकी हुन् ।
काठमाडौंको बेपत्ता परिवारको कार्यक्रममा बटासी देख्छिन्, ‘दौरासुरुवाल’ वाल प्रधानमन्त्री, जिम्दार जग्गामा लालझन्डा गाड्ने कमरेडका सुप्रिम कमान्डर र आफ्नो छोरा बेपत्ता पार्ने सरकार नाइके । काँटीकुटी ‘जिम्दार’ का पनि जिम्दार लाग्छ । आफ्नो छोरा बेपत्ता पार्ने, आफ्नो र बुहारीको इज्जत लुट्ने ‘बन्दुक’ जस्तो लाग्छ ।
त्यसपछि ?
बटासीलाई भन्कारा छुट्छ ।
त्यसपछि ?
दुई छोरा बेपत्ता पारिएकी आमाले माइक खोसेर बोलेको बोलीबाहेक अरू उनको कानमा बज्दैन– ‘छोराछोरीका मोबाइल आधा घण्टा मात्रै ‘स्विच अफ’ हुँदा ‘कहाँ गए होलान्’ भनेर कति चिन्ता लाग्छ, आमाबालाई ? २०/२२ वर्षसम्म छोराछोरी बेखबर हुँदा हामी कसरी बाँचेका छौँ ? सुत्नुअघि आधा सेकेन्डमात्र भए नि तपाईंहरूले हाम्रो ठाउँमा आफूलाई राखेर हेर्नुहोला ।... कहिलेसम्म पर्खने ? न्याय कहिले पाउने ? अहिल्यै जवाफ चाहियो ।’

बेलुकी ६ः१३ बजे
स्टिल गिलासमा पानी, थालमा भात र कचौरामा दाल । छोरोलाई भनेर अङ्नामा राख्छिन् । त्यसपछि रोइनाले खाइरहेछन्, जसरी फरक्क फर्केर हेर्छिन् ।
१८ वर्षदेखि लगातार अङ्नामा राख्दा थाल थोत्रिएछ । कचौरा कुच्चिएछ ।
भित्र पस्नुअघि पतिको किरिया नहुँदासम्म बाटोमा खाना राखिदिएको सम्झन्छिन् । सम्झन्छिन्, चोखिएको दिन ‘आब जिन अैहो’ भनेर बाटो बन्द गरेको पनि । रोइना ?
न जिउँदो, न मरु खबर छ । १२ वर्षमा त खोला पनि फर्कन्छ भन्छन् । तर, १८ वर्ष बिते पनि रोइना फर्केका छैनन् । छोरा–खोजमा घाइते बटासी–गोडा अझै थाकेका छैनन् । एकदिन छोरो ‘टुप्लुक्क आउनेछ’ भनेर ‘आमामन’ पलाइरहन्छ, ‘डाई ! निके बा ? मै ट अइलुँ, कहटी एक रोज रोइना घुमी ।’ छोरालाई अङ्नामा खाना राखिदिएपछि बल्ल आफूले खान्छिन् । तर, आज ? नखाई ओछ्यानमा घोप्टो पर्छिन् । कुखुरा बस्ने बरीनेर कुकुर कुइँकुइँ गर्छ । ठीक त्यसैबेला जिम्दार–टीभीले कुकुर कुइँकुइँलाई ओभरल्याप गर्छ, ‘प्रधानमन्त्री ओली रसत्तारूढ दल अध्यक्ष दाहाल उपचारार्थ सिंगापुर उडे भने प्रमुख विपक्षी दल नेता देउवा अमेरिका भ्रमणरत छन् ।’
(लेखक ‘जनयुद्ध’ का बेला केही समय भैरवनाथ गणमा बेपत्ता बनाइएका थिए । यस कथामा प्रयुक्त थारू भाषाका शब्द जस्ताको तस्तै राखिएको छ ।)

Page 21
कोसेली

उकुच

- उमा सुवेदी

जमुना र नरमायाबीच आज पनि झगडा भयो । झगडा बढ्दै गएपछि भुत्लाभुत्ली सुरु भयो । कुनै बेला उनीहरूको झगडा झोडा गाउँका लागि निकै दिनसम्म छलफल भइरहने विषय बन्थ्यो । तर, बिस्तारै गाउँलेका लागि यो सामान्य कुरा हुँदै गयो । केही समयपछि गाउँलेले यी दुई बूढीहरूको झैझगडामा चासो राख्नै छाडिदिए ।
बाइस–पच्चीस वर्षअघिसम्म जमुना र नरमाया असाध्यै मिल्ने साथी थिए । उनीहरू एउटै गाउँमा हुर्के । एउटै स्कुलमा दस कक्षासम्म पढे । दुबै पढाइमा अब्बल थिए तर दुवैका बाआमाले दस कक्षा नसक्दै उनीहरूको बिहे गरिदिए । संयोगवश, दुवै एउटै गाउँमा बिहे भएर गए । बाल्यकालदेखिका साथी उनीहरू मेलापात र हाटबजार सँगसँगै जान्थे । तिनचुले जंगलमा सँगै गएर दाउरा र गाईबाख्राका लागि स्याउला ल्याउँथे । उनीहरूको मित्रता साँच्चै लोभलाग्दो थियो ।

जमुनाका श्रीमान् नेपाली सेनामा हल्दार थिए । उनको पोस्टिङ गोर्खातिर थियो । बिदामा बरोबर गाउँ आइरहन्थे । उनी आएसँगै झोडागाउँमा रौनक आउँथ्यो । गाउँका चिया पसलमा बसेर उनले आफ्नो तालिम र सैनिक जीवनका बारेमा रोचक र रोमान्चक किस्साहरू सुनाइरहन्थे । त्यसैले गाउँलेका लागि उनी नायकजस्तै थिए । गाउँका युवाहरूका लागि उनी आदर्श व्यक्ति थिए । उनकै कारण तिनीहरूले पनि सेनामा भर्ती हुने सपना देख्न थालेका थिए ।
नरमायाका श्रीमान् भने झोडा गाउँमै पसल चलाएर बसेका थिए । सानो भए पनि उनको पसलमा नपाइने केही थिएन । दालचामलदेखि भाँडाकुँडासम्म, सियोधागोदेखि जुत्ताचप्पलसम्म । कतिपय सामान त हाट बजारमा भन्दा उनकै पसलमा सस्तो पाइन्थ्यो । पसललाई आवश्यक पर्ने इन्डियन सामान किन्न मेची तरेर नक्सालबाडी जानुपर्दा नरमायाले गाडी भाडा हालेर आफूसँग जमुनालाई पनि लैजान्थिन् ।
जमुनाका तीन सन्तान जन्मिए पनि छोरी मात्र जीवित जन्मेकी थिई । दुइटा छोरा मरेका जन्मिए । नरमायाको एक छोरापछि अनेक उपाय गर्दा पनि गर्भ बसेन । जमुनाकी छोरी थिई सुरक्षा र नरमायाका छोरा सुबोध । दुवै जना भद्रपुरतिर डेरा बसेर मेची क्याम्पसमा पढ्थे र बिदाका दिन प्रायः सँगै गाउँ फर्किन्थे । एउटै गाउँ, एउटै स्कुल र क्याम्पस पनि एउटै भएकाले सुबोध र सुरक्षालाई एकअर्कासँग हिँड्न र कुरा गर्न कुनै संकोच थिएन । जमुना र नरमायालाई गाउँलेले उनीहरूका छोराछोरीको मित्रतालाई लिएर धेरैथरी कुरा सुनाउँथे । उनीहरूको मित्रतालाई कसैले सकारात्मक नजरले हेरेका थिए भने कसैले शंकाको दृष्टिले । जमुना र नरमायासँग बिनाप्रसंग छोराछोरीको कुरा गर्थे । उनीहरूको भनाइको सार एउटै हुन्थ्यो, ‘बढेका छोराछोरी यसरी टाँसिँदै हिँड्नु ठीक हैन ।’
तर, नरमाया र जमुनालाई कुनै आपत्ति थिएन । बरु उनीहरूको भित्री इच्छा थियो वर्षौदेखिको मित्रता सम्बन्धमा परिणत होस् भन्ने ।
तर, समयको खेल न हो । त्यति घनिष्ठ सम्बन्धको नियति यति खराब हुन्छ भनेर झोडा गाउँलेहरू आज पनि विश्वास गर्न सक्दैनन् । मित्रताको यो हदसम्मको पतन कसैका लागि पनि विश्वास गर्न सकिने कुरा थिएन । तर, त्यस्तै भैदियो ।

अन्ततः यो सानो, शान्त र सुन्दर झोडा गाउँमा पनि जनयुद्धको बाछिटा आइछाड्यो । जनयुद्ध सुरु भएपछिका दुई–तीन वर्ष त गाउँमा शान्ति नै थियो । तर, त्यसपछि गाउँको हावामा बिस्तारै बारुदको गन्ध फैलिन थाल्यो । गाविसमा विस्फोट हुन थाल्यो । गाउँमा माओवादी चहलपहल बढ्न थाल्यो । जततातै पर्चाहरू छरिन थाले । सेनाको सर्च अपरेसन र गाउँलेहरूसित केरकार गर्ने क्रम पनि बढ्न थाल्यो ।
पछिल्लो समय नरमायाका श्रीमान्ले आफ्नो पसल अलिक विस्तार गरेका थिए । पसलको एउटा खण्डमा हार्डवेयरहरू राख्न थाले । उनले बिजुलीका तारहरू पनि बेच्न थाले । एक दिन झोडा गाउँ आउँदै गरेको सेनाको जिप गाउँ नजिकै एम्बुसमा पर्‍यो । जिपमा भएका आधाउधी एम्बुसमै मारिए । बाँकी तीन–चार जना घाइते सेना भाग्न खोज्दाखोज्दै मारिए । त्यस घटनापछि झोडा गाउँमा सेनाको गस्ती र सर्च अपरेसन झनै तीव्र भयो । एक दिन दिउँसै नरमायाहरूको पसलमा छापा हाने । सेनाले भन्यो, ‘माओवादीहरूले प्रयोग गरेको पाइप, सकेट र बिजुलीका तारहरू यही पसलबाट लिएका हुन् । पसलका साहु र माओवादीबीच साँठगाँठ छ ।’
नरमायाका पतिलाई सेनाले नियन्त्रणमा लियो । त्यसपछि उनलाई कहाँ लगियो, कहाँ बेपत्ता भए भन्ने कसैले पत्ता लाउन सकेन । सेनाकहाँ जाँदा गिरफ्तारै गरिएको छैन भन्ने जवाफ आउँथ्यो । आफ्नै आँखासामु गिरफ्तार गरेर लगिएका आफ्ना श्रीमान्लाई सेनाले समातेकै छैन भनेपछि नरमाया कहाँकहाँ धाइनन् । तर, कसैबाट पनि सहयोग पाइनन् । आफ्नो बाबुलाई बिनाकसुर बेपत्ता पारेको कुराले सुबोध रातभरि निदाउन सकेको थिएन । एक त युवा जोस, त्यसमाथि सेनाको यस्तो ब्यवहार । सुबोधको रगत उम्लिन थाल्यो । एक रात ऊ घर छाडेर हिँड्यो । उसको सिरानमा भेटिएको चिठीमा लेखेको थियो, ‘आमा, हामीमाथि भएको अन्यायको प्रतिकार गर्न म पनि जनयुद्धमा सामेल भएँ ।’
सुबोध जनयुद्धमा लागेको केही दिनमै जमुनालाई पत्र आयो । पत्रमा लेखिएको थियो, ‘तपाईँका श्रीमान् हाम्रा शत्रु पक्षको सेनामा कार्यरत छन् । उनलाई यो पत्र पाएको तीन महिनाभित्र जागिर छाड्न लगाउनुस् । अन्यथा हामी भौतिक कारबाही गर्न पनि पछि पर्नेछैनौँ ।’
पत्र पाएर जमुना आत्तिइन् । तर, उनका श्रीमान् आत्तिएनन् । फोनमा जहानलाई सम्झाए, ‘त्यस्ता भुसुनासित डराइन्न ।’
एक दिन उनी हाकाहाकी गाउँ आए । उनी आएको केही दिन गाउँमा फेरि उल्लास छायो । उनका साथी संगातीबीच हँसिमजाक हुन थाल्यो । उनलाई विश्वास थियो, माओवादीहरूले उनको केही बिगार गर्न सक्दैनन् ।
तर, यो उनको अति आत्मविश्वास थियो र यही नै उनका लागि घातक सावित भयो ।
एक रात उनको घरमा माओवादीको एउटा जत्था आयो र उनलाई सुतिरहेकै ठाउँबाट नियन्त्रणमा लियो । जमुनाले श्रीमान्लाई छाडिदिन अनेक अनुनयविनय गरिन् ।
उनीहरूले भने, ‘उहाँसित केही कुरा बुझ्नु छ । तपाईँका श्रीमान् फिर्ता आउनुहुनेछ ।’
तर भोलिपल्टै लास बिरिङ खोलाको किनारमा
फेला पर्‍यो ।
जमुना बेहोस भएर डङ्रङ्ग भुइँमा ढलिन् । आमालाई त छोरी सुरक्षाले सम्हाली तर उसको दिमाग भुल्भुली उम्लिन थाल्यो । पिताका हत्याराप्रतिको आक्रोशले उसलाई दिनरात पिरोल्न थाल्यो । के गरूँ र कसो गरूँको स्थितिमा उसको पढाइ पूरै डामाडोल भयो ।
त्यही महिनाको अन्त्यतिर सेनाको कारबाहीमा केही छापामारहरू मारिए । त्यो कारबाहीसँगै झोडा गाउँमा एउटा हल्ला फैलियो । नरमायाको छोरा सुबोधलाई सेनाले कब्जामा लिएर बेपत्ता बनाएको अपुष्ट खबर आयो । त्यो खबर सेलाउन नपाउँदै जमुनाको जीवनमा अर्को विपत्ति आइलाग्यो । माओवादीले सुरक्षाकै सुराकीले गर्दा छापामारहरू मारिएको र सुबोधलाई सेनाले कब्जामा लिएको आरोप लगाए । तिनीहरूले सुरक्षाका लागि कब्जामा लिए र जमुनालाई भने, ‘उहाँसित केही कुरा बुझ्नु छ । पछि
फिर्ता ल्याइदिनेछौं ।’
तर, उनका श्रीमान्झैँ छोरी पनि फर्केर आइन ।

‘सुबोधले गर्दा माओवादीहरूले जमुनाका श्रीमान् बेपत्ता बनाए ।’
‘सुरक्षाकै कारण सेनाले सुबोधलाई बेपत्ता पार्‍यो ।’
यी अपुष्ट हल्ला बढ्दै गएर बिस्तारै जमुना र नरमायाको मनमा जरा गाडे । जब भ्रम विश्वासमा परिणत हुन्छ, त्यो जति खतरनाक अरू केही हुन्न । त्यही खतरा बिस्तारै जमुना र नरमायाको जिन्दगीमा भित्रियो र त्यसले उनीहरूबीचको आत्मीय सम्बन्धलाई धरापमा पार्‍यो ।
सबैभन्दा पहिला जमुना र नरमायाबीच आउजाउ बन्द भयो । त्यसपछि बोलचाल बन्द भयो । त्यसपछि उनीहरू हिँड्ने बाटो फेरियो । उनीहरूले दाउरा र स्याउला ल्याउने जंगल फेरियो । एकअर्कालाई झुक्किएर देखिहाले भने हान्ने गोरुले हेरेझैँ हेर्दै प्याच्च थुक्क थाले । दुवैले एकअर्काको दुर्दशा, दुर्दिन र असमय मृत्युको कामना गर्न थाले ।
सुरुसुरुमा त गाउँलेहरूलाई लागेको थियो, यो मनमुटाव अस्थायी हो । समयले उनीहरू दुवैको घाउमा खाटा बसालिदिन्छ र एक दिन फेरि उनीहरू आपसमा उस्तै आत्मीय साथी बन्नेछन् । तर, गाउँलेहरूले सोचेजस्तो भएन । उनीहरूको घाउमा कहिल्यै खाटा बसेन । खाटा बस्न लागे पनि उनीहरू आफैँले आफ्नो घाउ कोट्याइहाल्थे । कुनै बेला झोडा गाउँमा उनीहरूबीचको मित्रता उदाहरणीय थियो तर अब भने उनीहरूबीचको शत्रुता चर्चित हुन थाल्यो ।
तर, हरेक साँझ उनीहरूको भेट बिरिंग खोलाको किनारमा भइछाड्थ्यो । किनाराको डिलमा बसेर घण्टौँ खोलापारि टाढाटाढासम्म हेरिरहन्थे । खोलापारिको गोरेटो हुँदै बेपत्ता भएका आफ्ना सन्तानहरू आई पो हाल्छन् कि भनेर हरेक दिन दुवै जना बाटो हेर्न जान्थे ।
खोलाको डिलमा फरकफरक ठाउँमा रहेका ठूलाठूला ढुंगाहरूमाथि बस्थे र घण्टौं आआफ्ना सन्तानको बाटो हेरिरहन्थे । दुवैलाई विश्वास थियो, एक न एक दिन आफ्नो सन्तान हाँस्दै, मुस्कुराउँदै आइपुग्नेछ । दुवैले हरेक रात देख्ने सपना उस्तैउस्तै हुन्छन् । हरेक रात सपनामा तिनका सन्तानहरू आउँछन् र भन्छन्, ‘म चाँडै आउँछु आमा ।’
सुरुसुरुमा त जमुना र नरमाया सन्तानको बाटो हेर्दै एक्लैएक्लै फत्फताइरहन्थे । तर, बिस्तारै उनीहरूले त्यहीँ ढुंगामाथि बसेर एकअर्कालाई सराप्न थाले । नरमायाले भन्थिन्, ‘यही जमुनीको लोग्ने र छोरीले मेरो घर बर्बाद पारे ।’
जमुना भन्थिन्, ‘यही नरी र यसको छोरोको कारण मेरा श्रीमान् मारिए र मेरी छोरी हराई ।’
बिस्तारै त्यो फत्फतले झगडाको रूप लियो । उनीहरू आआफ्नो ढुंगोमा बसेर एकअर्कातिर धारेहात लगाएर बाझाबाझ गर्न थाले ।
‘अइ नरी, खुब माओवादी हुनुपरेको हैन तेरो बूढो र छोरोलाई ? तिमीहरू त कुहिएर मर्नुपर्ने ।’ गणतन्त्र ल्यार के नापिस् तैँले ?
‘एइ जमुनी, तेरो लोग्ने र छोरी त सामन्ती सत्ताका मतियार पो थिए त । बुझिस् तैंले ? सामन्तीहरूले वर्षौँसम्म देशलाई लुटेर जनतालाई गरिब बनाएको कुरा कसलाई थाहा छैन गाउँमा ? तिमीहरू सबै यो गाउँका कलंक हौ । तिमीहरूको सत्यानाश होस् ।’
उनीहरूको दुस्मनीको यो रूपले कतिपय गाउँलेहरूलाई मनोरञ्जन दिलायो त केही चिन्तित पनि भए । उनीहरूको शत्रुता र झैझगडाका घटनामा मरमसला थपथाप गरेर गाउँलेहरूले एकअर्कालाई सुनाएर दिन कटाउन थाले ।
झगडाको विषय गाउँलेका लागि पुरानो भयो र नरमाया र जमुनाको झगडा पनि सामान्य दैनिकीजस्तो भयो ।
अब त जनयुद्ध सकिएर माओवादी सत्तामा पुगिसकेको पनि वर्षौं भइसकेको छ । नेपालमा एउटा युग समाप्त भएर अर्को युग सुरु भइसकेको छ । शोषण र दमनले निर्माण गरिदिएको चेतनाका पर्खालहरू भत्किएर पहिचान, आत्मसम्मान र अधिकारका कुराहरू मुद्दाका रूपमा परिणत हुन थालेका छन् । तर, पनि नरमाया र जमुनाको जीवनमा रत्तिभर यसले प्रभाव पारेको छैन । उनीहरू आज पनि जनयुद्धकै दिनमा छन् र आज पनि युद्ध सकिएर आफ्ना सन्तानहरू गाउँ फर्किएर आउँछन् भनेर पर्खिरहका छन् । उनीहरूको युग र चेतना फेरिएकै छैन । उनीहरूले हरेक दिन आफ्नो घाउ कोट्याएर आफ्नो दुखाइलाई सधैँ ताजा बनाइराखेका छन् ।

एक दिन नरमाया खोला किनारमा आइनन् । भोलिपल्ट, तेस्रो, चौथो र पाँचौं दिन पनि नरमाया नआएपछि जमुना एक्लै परिन् र उनले नरमायामाथि आरोप लगाउन पाइनन् । नरमायालाई सत्तोसराप गर्न नपाउँदा कताकता खल्लो महसुस गरिन् ।
साता दिन बित्यो । मनभित्रको आक्रोश र नरमायाप्रतिको घृणाले निकास नपाउँदा जमुनाको छटपटी बढ्न थाल्यो । उनले केही दिन त्यो छटपटी सहिन पनि । तर, धेरै दिन सहिराख्न सकिनन् ।
एक दिन झगडा गर्ने अनेक विषय र आरोप लगाउने मुद्दा लिएर उनी नरमायाको घरमै पुगिन् । नरमायाको घरको ढोका आधा खुलेको थियो । उनले जोडले ढोका खोलिन् र भित्र पसिन् ।
नरमाया उठ्नै नसक्ने भएर ओछ्यानमा टाँस्सिएकी थिइन् । उनको हाडछाला मात्र बाँकी थियो । अनुहारबाट उत्साह, आशा र विश्वास सबै धमिलिएर गैसकेका थिए । त्यस्ती कमजोर नरमायासित कसरी झगडा गर्नु ? कसरी उनलाई तथानाम भन्नु ? कसरी उनलाई भुत्ल्याउनु ? जमुना लाचार भइन् ।
कति दिनदेखि खाना खाएकै रहिनछिन् नरमायाले । जमुनाले आगो सल्काइन् । चुल्होमा कसौँडी बसालिन् । बट्टाबट्टीमा सोरसार रहेछ चामल । त्यही हालिन् । बारीमा मुला रहेछ । उखेलेर ल्याइन् । काटकुट पारेर आलु र मुलाको झोल तरकारी बनाइदिइन् । थालमा पस्किदिइन् र नरमायाको अगाडि तेर्स्याइन् ।
‘म एक्लै खान्नँ,’ नरमायाले भनिन् ।
जमुनाले नाइँ भन्न सकिनन् । आफूलाई पनि पस्किइन् । करिब बीस वर्षपछि उनीहरूले सँगै खाना खाए ।
‘मीठो पकाउन बिर्सेकी रहिनछस्,’ नरमायाले भनिन् ।
‘तेरो मुख मीठो हो,’ जमुनाले जवाफ दिइन् ।
दुई दिन दुई रात जमुनाको स्याहार पाएपछि नरमाया तंग्रिइहालिन् ।

त्यसपछि फेरि उनीहरू एकअर्काको हात समात्दै सँगसँगै बिरिंग खोलाको किनारमा पुगे । उही आआफ्नो ढुंगामा बसे । उसरी नै खोलापारि बाटोतिर हेरिरहे । हेर्दाहेर्दै फेरि झगडा गर्न थाले ।
झगडा गर्दागर्दै रात पर्‍यो । दुवै उठे । एकअर्काको हात समातेर फर्किए । जमुनाको घर पहिला आयो । नरमायाले छुट्टिने बेलामा अँध्यारो अनुहार पारेर भनिन्, ‘भोलि पनि सँगै जाऊँ । हाम्रा छोराछोरी चाँडै आउँछन् ।’
जमुनाले उसैगरी अनुहार अँध्यारो पारेर भनिन्, ‘उनीहरू गएको पनि त धेरै दिन भएको छैन नि ।’

कोसेली

ऋण

- ज्योति जङ्गल

हेपाली हाइटबाट टोखा जाने बाटोमा दक्षिण मोहडा गरेको एकतले घर थियो । रातो माटोले पोतिएको । टायलको छानो कुनै पुरुषको शिरमा अडिएको मैलो टोपीजस्तो देखिन्थ्यो । माटाले जोडेको पुरानो त्यो घरमा बाटोतिर फर्किएको एउटा मात्र मूलढोका थियो । ढोकासँगै जोडिएको सानो खोपीजस्तो काठे पल्लाको झ्याल थियो । बाटोबाट पाँच/छ फिटभित्र रहेको घरअगाडि फूलका झ्याङ र लहराले जेलेर बनेको बाक्लो तहले एक कभिम पर्खालकै काम गरेको थियो । बाटोमा गुड्ने गाडीले उडाएको धूलो धेरैजसो त्यही पर्खालमै अडिन्थे । सम्झना यसै घरमा बस्थी । उसको लोग्ने रामेश्वरले अंश पाएको घर थियो त्यो ।
फागुन तेस्रो हप्ता सम्झनाले बालुवाटारको पप्पी हाउसबाट एउटा कुकुर लिएर आई । जुन दिन उसको लोग्ने हराएको सात वर्ष भइसकेको थियो । भोलिपल्ट उसकी सासू सानीमैयाँले बाटो हिँड्दा कुकुर देखी । आँगनमा उभिएर आश्चर्य हुँदै बुहारीलाई सोधी, ‘ओइ कान्छी ! तैंले कुकुर पो ल्याइछस् त ! तेरो घरमा कहाँ आँट्छ यो कुकुर ? के ख्वाएर पाल्छेस् ? माजनकाँ पाल्ने जातको जस्तो छ, कत्ति राम्रो ! ठीकै छ, सुरक्षा त गर्छ । तर किन पो चाहियो अब सुरक्षा ? कान्छो कता गयो कता ?’ सानीमैयाँको बानी यस्तै थियो । मनमा आएका कुरा भनिसकेर मात्र बिसाउने ।
सम्झना चुप लागेर सुनिरही । उसको अनुहारमा छाएको यो सन्नाटा लोग्ने हराएदेखि नै सुरु भएको थियो । ‘कहिलेकाहीँ यिनै सासू त छन् मेरो खबर सोध्ने । यो सानो आँगनमा उभिएरै भए पनि मलाई आमाको स्नेह दिलाउँछिन् ।’ सम्झना छिमेकमा यस्तै भन्थी । तर, त्यसबेला सासूका प्रश्नको उत्तर दिइन । सासूको आवाज सकारात्मक गुञ्जनले भरिएका जस्ता लागे ।
फेरि एक छिनमा उसले केही सम्झेजस्तो गरेर भनी, ‘यसपालि छोराले दस पास गर्छ । ऊ पनि कता पढ्ने हो । मलाई साथी हुन्छ भनेर ल्याएको । फेरि तपाईंको छोराको कुकुर पाल्ने कत्रो सोख थियो । मैले पूरा गरेँ ।’ सम्झना हाँस्न खोजी तर ओठ बन्दका बन्दै रहे ।
बिस्तारै कुकुरको चर्चा हुन थाल्यो हेपाली टोलमा । ‘राम’ भनेर बोलाउँथी ऊ कुकुरलाई । आफ्नै लोग्नेको छोटो नाम । बूढापाकाहरू भगवान्को नाम राखेको भनेर कुरा गर्थे । उसको लोग्ने कहाँ थियो, कसैलाई पत्तो थिएन । गाउँ, छिमेक या आफन्त कसैलाई सुँइको थिएन ।
कुकुर किङ सेफर्ड जातको थियो । त्यसलाई किन्न उसले सुनको तिलहरी बेचेकी थिई भनेर टोलमा हल्ला चलेको थियो । अझ कुकुर सम्झनासँगै ओछ्यानमा सुत्छ भन्ने गाइँगुइँले त छेउछाउ बग्ने हावा पनि भरिएको थियो । ऊ रामसँग बात मारिरहन्थी । ‘तेरो मालिक आउनुहुन्छ चनाखो हुनू’ भनेर दिनमा दसौंपटक भनिरहन्थी । प्रत्येक साँझ ऊ रामलाई ‘घरको ढोका लगाउँदिनँ म, तँ ढोकामा बस्’ भन्थी । बसिदिन्थ्यो राम पनि आज्ञाकारी भएर । केही बेरमा फेरि माया लाग्थ्यो सम्झनालाई र आफूसँगै लिएर भित्र जान्थी ।
घर ल्याएको छ महिनापछाडि सम्झनाले रामलाई तालिम दिने ठाउँमा लान थाली । राम एकदमै चनाखो हुन थालेको थियो र हमलादार पनि । चार वर्षसम्म उसले तालिम दिइरही । राम घरको सदस्यभन्दा ज्यादा सम्झनाको सहयात्री भयो । छोराको बारेमा गुनासो सुनिदिने, छोराको एसएलसीको नतिजा सबभन्दा पहिला सुन्ने । बिरामी हुँदा सन्चो छैन भनेर सम्झनाले सुनाउने साथी पनि राम भइदियो ।

सात वर्षअघिको एक दिन । घरमा भात खाँदाखाँदै एक जना मानिसले रामेश्वरलाई आँगनमा आएर डाकेका थिए । जुठा हात धोएर उसको लोग्ने एक छिनलाई बाहिर निस्केको थियो । त्यो मिति सम्झनाले थुप्रैपटक सुनाइसकेकी थिई रामलाई । रामेश्वरले नीलो रङको सर्ट लगाएको थियो । लिन आउने मानिस को थियो ? सम्झनाले चिनेकी त थिइन् । तर, त्यो मान्छेको दबब्रे हातको कान्छी औंला भने काटिएर ठूटो मात्र बाँकी थियो । यो सबै रामले सुनिसकेको थियो । कुनै पाइलाको आवाज आउनेबित्तिकै खुरुरु कुदेर बाहिर निस्कनु सम्झनाको दोहोरिइरहने चर्या थियो । त्यसबेला बाहिर निस्कँदा सम्झनाका हावामा उडेका खुट्टाका चाल रामलाई बडो नृत्यमय लाग्थे । प्रत्येकपटक सम्झना रित्तो फर्किन्थी र भित्र मझेरीको पश्चिमपट्टि राखेको पुरानो सोफामा थ्याच्च बस्थी । उदास भएकी मालिक्नीलाई फकाउन राम लुसुक्क काखमा टाउको लुकाएर घुस्रिन जान्थ्यो । त्यसबेला ऊ दाह्रा किट्थी र रामलाई भन्थी, ‘तँ मेरो साथी होस्, घरमा बसिस्, परिवार भइस् तर तँलाई गरेको मेरो स्याहार तेरो ऋण हो, तैंले यो ऋण तिर्नुपर्छ ।’ राम टाउको हल्लाएर स्वीकृति जनाउँथ्यो । मानौं, ऊ त्यसका लागि ज्यानै दिन तयार छ ।
उसको लोग्ने हराएको केही वर्षपछि युद्ध समाप्त भएको थियो । तर, सम्झनाको दैनिकीमा एउटा काम थपिएको थियो । महिनामा एकपटकजस्तो बानेश्वरमा रहेको इन्द्रबाबुको कार्यालय जान्थी । उनलाई देखेपछि सम्झनाका आँखा उज्याला हुन्थे । घरमा हुँदा रामेश्वरले आक्कलझुक्कल इन्द्रबाबुको नाम लिएको सुनेकी थिई । एकपटक इन्द्रबाबु उसको पालिकामा सामाजिक पार्टीलाई भोट माग्न आउँदा सम्झनाको घर पनि आएका थिए । इन्द्रबाबु देब्रेतिर अलिकति ढल्किएर हिँड्थे र एउटा हात सधैं गोजीभित्र हुन्थ्यो । उनको नमस्ते फर्काउने तरिका पनि फरक खालको थियो । नमस्ते फर्काउँदा उनी दाहिने हात छातीमा राखेर टाउको झुकाउँथे । पार्टीको ठूलै पदमा बसेका उनलाई रामेश्वर बेपत्ता भएको पहिल्यै थाहा रहेछ । सम्झनाले घटना सुनाउनुअघि नै उनले ‘रामेश्वरको बारेमा खोजी भइरहेको छ, छिट्टै पत्ता लाग्छ’ भनेपछि सम्झना त्यही कुरा सोध्न बानेश्वर जान थालेकी थिई । त्यसरी नै चिनेकी थिई सम्झनाले इन्द्रबाबुलाई । लोकतन्त्र आएपछिको समयका इन्द्रबाबु ठूला राजनीतिज्ञ थिए । भूमिगत भएका र पार्टीमा योगदान गरेका कारण इज्जतदार पनि थिए । इन्द्रबाबुकै सहयोग लिएर उसले विभिन्न आयोगमा श्रीमान् बेपत्ता भएको निवेदन हालेकी थिई । इन्द्रबाबुले उसलाई सत्य निरूपण तथा मेलमिलाप आयोग पनि पुर्‍याएका थिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पनि निवेदन दिन लगाएका थिए । यस्तै सहयोगको प्रभावस्वरूप ऊ इन्द्रबाबुकहाँ गइरहन्थी । तर, इन्द्रबाबुका आँखा भने उसलाई देखेपछि झिँझोले भरिएका जस्ता हुन्थे । इन्द्रबाबुलाई भेटेपछि उसले सधैं एउटै प्रश्न सोध्थी, ‘सर ! प्रगति केही भयो कि ?’ इन्द्रबाबु हात गोजीमा राखेर दुई शब्द बोल्थे । छ वर्षदेखिको एकै उत्तर हुन्थ्यो, ‘म प्रयास गर्दै छु ।’ त्यही आश्वासन सुनेर ऊ फर्कन्थी । फर्कंदा ऊ यति आजित देखिन्थी कि आत्महत्या गर्न नपाएर फर्किएको कुनै आकृतिजस्ती हुन्थी । या बेहोस हुनै लागेकी आइमाईजस्ती खुट्टा घिसारिरहेकी हुन्थी ।
अन्तिम भेटमा इन्द्रबाबुले भनेका थिए, ‘सम्झना ! तिमीलाई कति बेचैनी भएको होला । म बुझ्छु तर मैले कसैगरी रामेश्वरको विषयमा सूचना पाउन सकिनँ । तिमीलाई परिपूरणको व्यवस्था गर्न पनि सकिनँ ।’ इन्द्रबाबुले यसोभन्दा रामेश्वर हराएको सातौं वर्ष सुरु भएको थियो । त्यसपछि सम्झना त्यो कार्यालय जान छोडेकी थिई । र, त्यही दिन उसले रामलाई किनेर घर ल्याएकी थिई ।

लोग्ने हराएको बाह्रौं वर्ष पुगेको थियो । बेपत्ता भएको बाह्र वर्षपछि अन्तिम संस्कार गर्दा पनि हुन्छ भनेर आफन्तमाझ भएको कुरा कतिपटक उसले सुनेकी थिई । तर, रामेश्वरकी आमा सानीमैयाँ यस कुरामा सहमत थिइन । ऊ त जीवनभर पर्खिन पनि तयार थिई ।
सम्झनालाई छोरो सुधीरमानबाट कुनै चिन्ता थिएन । ऊ जिम्मेवार थियो । बाबुको अभावमा आमाको सेवा गर्नुपर्ने उसले बुझेको नैतिकता र आदर्श थियो । तर, राजनीतिका कुराले भने ऊ अति नै बिच्किने भएको थियो । ऊ आईटीमा निकै चाख राख्थ्यो । बीए पढ्न थालेदेखि नै चक्रपथको इन्फो टेक्निक भन्ने कार्यालयमा काम गर्न थालेको थियो । बाबुको कुरा हुँदा ऊ बाबुले गरेको राजनीतिलाई नै दोषी ठहर्‍याउँथ्यो । राम पनि पाँच वर्षको भएको थियो । पाँच वर्षदेखि सम्झना र इन्द्रबाबुबीच भेटघाट भएको थिएन । तर तीन हप्ताअगाडि सम्झना इन्द्रबाबुसँग फेरि भेट गर्न गई । भेट्न जानु केही दिनअघि एक दिन बिहान सम्झनाले टीभीमा इन्द्र्रबाबुको अन्तर्वार्ता देखेकी थिई । त्यहाँ व्यक्त भएका उनका भावना र जनताको मायाका कुरा उसले ध्यान दिएर हेरेकी थिई । प्रश्न गर्नेले पार्टी एकता र भावी चुनावपछि हुने उनको विजयको प्रक्षेपण गरेर विभिन्न प्रश्नहरू सोधेको थियो । त्यहाँ इन्द्रबाबु हात हल्लाइहल्लाई कुरा गर्दै थिए । उनका हात प्रस्ट देखिएका थिए । त्यसपछि फेरि उसलाई इन्द्रबाबुसँग भेट गर्ने रहर पलाएको थियो । यसैबीच बेपत्ता आयोगको तेस्रो अन्तरिम प्रतिवेदन पनि सरकारसमक्ष आइसकेको थियो । उसको श्रीमान्को नाम त्यो अन्तिम प्रतिवेदको नामावलीमा पनि सामेल थिएन । उसका निवेदनहरू के कति कारणले अयोग्य भएका थिए उसलाई अत्तोपत्तो थिएन ।
यसपटक सम्झना इन्द्रबाबुको अगाडि पहिलाको जस्तो निरीह र एक्ली भएजसरी प्रस्तुत भइन । समयको अन्तरालले उसको मन दह्रो बनाएको थियो या उसले चित्त बुझाउन थालेकी थिई । उसले रातो धोती लगाउन छोडेकी थिई । सुधिरमानले मौसमअनुसारका पेन्ट र टिसर्ट ल्याएर आमालाई लगाउन कर गर्थ्यो । घरमा बस्दा ट्राउजर लगाउन थाली । बिस्तारै ऊ अन्य लुगामा पनि अभ्यस्त भई । उसको पहिरन फेरिएको थियो । इन्द्रबाबु ठूला मानिस भइसकेका थिए तर पनि उसको अनुरोधलाई स्विकारेर भेट गर्न मञ्जुर भए । यस कुराले सम्झना एकदम खुसी भई । इन्द्रबाबुलाई भेटेर उसले आफूलाई पनि सामाजिक कार्य गर्न मन लागेको छ भनेर सुनाई । यो धारणा सुनेर इन्द्रबाबुका आँखामा चमक भरियो । हुन त यसपालि सम्झनालाई नयाँ भेषमा देख्दा नै उनको मनमा आश्चर्य पलाएको थियो । तर व्यक्त गरेका थिएनन् । इन्द्रबाबुले सम्झनासँग मोबाइल नम्बर मागे र आफ्नो मोबाइलबाट फोन गरेर त्यो नम्बर सेभ गर्न सुझाए । चाँडै नै सम्झनालाई कुनै प्रोजेक्टमा काम देखाउन लाने कुरा बताए ।
इन्द्रबाबुले मोबाइल नम्बर लिएको दुई हप्तापछि । करिब एघार बजेतिर हुन्डाईको खैरो रङको गाडी सम्झनाको घरअगाडि अडियो । त्यसमा इन्द्रबाबु चढेका देखिए । सम्झना पनि त्यही गाडीमा चढी । सम्झनासँग राम पनि सँगै गाडीमा चढेको थियो । गाडी कोटेश्वर हुँदै भक्तपुरतिर हुँइकियो । उनीहरू भक्तपुर जानेछन् भनेर इन्द्रबाबुले फोनमा भनेका थिए । बाटोमा जाँदै गर्दा इन्द्रबाबुले धुलिखेलमा रहेको सिलाइबुनाइको कारखानामा पनि जाने कुरा गरे । उनले त्यस्तै खालको कारखाना बूढानीलकण्ठमा पनि खोल्ने र सम्झनालाई त्यसको रेखदेख गर्ने काम गर्दा उपयुक्त हुने विचार व्यक्त गरे । सम्झनाको अनुहारले हाँसो बिर्सिएको धेरै भएको थियो । यो सब सुनेर पनि ऊ हाँस्न मुस्काउन भने पटक्कै सकिन । पटकपटक सम्झनाको आँखा इन्द्रबाबुको देब्रे हातको कान्छी औंलामा केन्द्रित भइरहेको थियो । यो हातको ठुटे औंला उसले तीन साताअघिको टीभीको अन्तरवार्तामा पनि देखेकी थिई । औंला उसको लोग्नेलाई बोलाउन आउने मान्छेको औंलासँग हुबहु मिलिरहेको थियो ।
धुलिखेलको कारखाना घुमिसक्दा साँझको छ बजेको थियो । इन्द्रबाबु आएको थाहा पाएपछि स्थानीय जनता धेरै भेला भए । उनले पनि सिलाउने काम गर्ने महिलाहरूसँग तिनको ज्याला, काम गर्ने वातावरण र अन्य धेरै कुरा मसिनो गरी सोध्न थाले । उनले त्यस कम्पनीका लगानीकर्तासँग पनि लामो कुरा गरे र कति लागतमा यस्तो कारखाना खोल्न सकिन्छ भनेर भलाकुसारी गरे । सम्झनालाई उनले बीचबीचमा सोधिरहेका थिए, ढिलो भयो कि भनेर । सम्झना छैन भन्ने संकेत गर्न टाउको हल्लाइरहेकी थिई । त्यसैबेला इन्द्रबाबुको मोबाइलको घण्टी बज्यो । फोनमा उनलाई भोलिपल्ट धुलिखेलको कुनै कार्यक्रम उद्घाटन गर्न अनुरोध आयो । सम्झनाले भोलिपल्टको कार्यक्रम हेर्ने आफ्नो इन्छा व्यक्त गरी ।
बेलुका खाना खाएपछि अबेरसम्म इन्द्रबाबु स्थानीय मानिसबाट घेरिएर रहे । सम्झनालाई इन्द्रबाबु बस्ने अरविन्द होटलमा छुट्टै कोठाको प्रबन्ध गरिएको थियो । सम्झनाले रामलाई पनि सँगै राख्ने अनुमति लिई र इन्द्रबाबुसँग बिदा मागेर कोठाभित्र आराम गर्न गई । भित्र गएर उसले रामलाई आफ्नो वाचा सम्झाई । उसको ऋण तिर्ने दिन आजै हो भनेर ।
बिहान सम्झनाको कोठाको ढोकामा ढकढक गरेको आवाज आयो । होटलमा ठूलै घटना भएजसरी बाहिरबाट चर्को हल्लाको स्वर आइरहेको थियो । उसले ढोका खोली । बाहिर उभिएको करिब पच्चीस वर्षको केटा थियो, त्यो त्यहीँ काम गर्नेजस्तो देखिएको थियो । उसले इन्द्रबाबुको राति नै हत्या भएको र प्रहरीले होटल घेरा हालेको खबर सुनायो । आँगन मानिसको भीडले भरिएको थियो । इन्द्रबाबुको अनुहार मात्र देखिएको थियो र अनुहारभरि घाउका दागहरू थिए । राति इन्द्रबाबु कतिखेर बाहिर निस्किए र घटना भयो कसैले भन्न सकेनन् । इन्द्रबाबु सुतेको कोठाको ढोका खुला थियो र हमला बाहिरै भएको देखिन्थ्यो ।
प्रहरीले सम्झनालाई सोधपुछ गरे । उसले हामी कारखाना हेर्न आएको र आज हुने कार्यक्रम हेर्न यतै बसेको कुरा बताई । आफू बेलुका सुत्न कोठाभित्र जाँदा इन्द्रबाबु मानिसहरूसँग खाइपिइमै हुनहुन्थ्यो भनी । प्रहरीले उसको ठेगाना र फोन नम्बर टिप्यो र घरजाने स्वीकृति दियो । राम सम्झनाको पछिपछि लाग्यो । मानिसहरू इन्द्रबाबुको लास देखेर ‘जनावरले जसरी कति निर्दयी हमला गरेछन् मान्छेले पनि’ भन्दै टिप्पणी गरिरहेका थिए । एउटा एम्बुलेन्स साइरन बजाउँदै आउँदै थियो । इन्द्रबाबुलाई पोस्टमार्टम गर्न लाने गाइँगुइँ चलिरहेको थियो ।
सम्झना बाह्र बजेतिर हेपाली आइपुगी । सरासर सासूकहाँ गई र भनी, ‘तपाईंको छोरो हराएको अब बाह्र वर्ष पूरा भएको छ । आमा ! म आजैदेखि किरिया बस्छु ।’

Page 22
कोसेली

कमरेड रोशी

- कान्तिपुर संवाददाता

चिवा स्टेसन पुग्नुअघि मैले मोनोरेलभित्र निकै बेर गम खाएँ ।
किनकिन मलाई जापान बसाइ निकै पट्यारलाग्दो हुँदै गइरहेको थियो । विशेषगरी एउटा आकृतिले पछ्याइरहेको प्रति मलाई ताज्जुब लागिरहेको थियो ।
डा. तोसिआकी सेन्सेई नहुँदो हो त मैले उहिल्यै जापान छाडिसक्थें । शिरीषको फूल, सकम्बरी, मुडुलो टाउको अनि तोसिआकी । नागोयाबाट चिवा सर्नुपर्दा उनै तोसिआकी जमानत बसिदिएका थिए मेरो अपार्टमेन्टका लागि ।
चिवा स्टेसनमा मोनोरेल रोकियो । एक तमासको मन बोकेर म ओर्लिएँ । खासमा मैले मोनोरेल हुँदै जेआर लाइन समाउनुपर्ने थियो— सिनओगोबुका लागि । साँझ एउटा नेपाली रेस्टुरेन्टमा तोसिआकीको नेपाली फिल्म ‘कठपुतली’ सो हुनेवाला थियो । तर, म सीधै चिवा पोर्ट टावरतिर अघि बढें । टोकियो बे चुमेर आएको समुद्री हावाले दुवै गालामा बेस्सरी हान्दै थियो ।
सपनामा पछ्याउन आइरहने त्यो मलिन अनुहार कसको हुन सक्छ ?
कलेज पढ्दा ‘म्याजिक अफ द वर्ड’ मा ‘द रिकरिङ ड्रिम’ त पढेकै थिएँ । के म त्यही ड्रिमकी किम्बरली क्लार्क हुँ त ? मेरो सपनाको खास विशेषताचाहिँ के थियो भने हरेक रात दृश्य अघि बढ्दै जान्थ्यो । सिरियल ड्रिम ।
पोर्टतिर अघि बढ्दै गर्दा अघिल्लो रात देखेको सपनाको अन्तिम शृंखला रिवाइन्ड गरें— एउटा अग्लो पर्वत । लेकाली सालको घना जंगल । घुर्माइलो मौसम । घाम डाँडापारि डुबिसकेको भए पनि आकाश रातो थियो । रक्तिम किरणले डढेको बादल मन रुवाउनेगरी साम्राज्य विस्तार गरिरहेझैं देखिन्थ्यो । एउटा लोभलाग्दो नागबेली बाटो लेकतिर मोडिन्थ्यो ।
म यही सुनसान बाटोमा उभिएरहेको थिएँ ।
यही बेला एउटा पहेंलो पुतली लेकतिरबाट उड्दै–उड्दै आयो । लेकाली सालको रूखमा सुनाखरी फक्रिरहेको थियो । एउटा फूलको बैजनी पत्रमाथि पुतली नाच्दै–नाच्दै बस्यो । म पुतली नजिक गएँ । ऊ नाच्दै मेरो औंलामा थपक्क बस्न आइपुग्यो । मैले पुतलीसित आँखा जुधाएँ । पुतलीले पनि मुसुक्क हाँसेझैं गर्‍यो । ठीक यही बेला पछिल्तिरबाट बम पड्केको झैं भयंकार आवाज आयो ।
झस्किँदै म पछाडि फर्कें ।
पछिल्तिर एकदमै निख्खर कालो र अँध्यारो छाया उभिरहेको थियो । एकाएक मेरो आङ चिसो भयो । हठात फनक्क फर्केर पुतलीतिर हेरें– पुतलीको रंगीन पखेटा त छरफस्टिएर हावामा फैलिरहेको थियो । बिस्तारै हावामा तैरिरहेको पँखेटाको रङले एउटा इन्द्रेणी निर्माण गर्‍यो । अचम्म ! इन्द्रेणीभित्र एउटी युवतीको मधौरु आकृति देखियो ।
‘एक्स्क्युज मी ! तपाईंलाई कतिवटा टिकट चाहिएको हो र ?’
म झस्कें ।
चिवा पोर्ट टावर पुगिसकेको रहेछु । टिकट काउन्टरवालीले सोध्दै थिइन्, ‘एक्लै कि गर्लफ्रेन्ड पनि छ ?’
‘एक्लै’ मैले भनें ।
‘ए...ए... कसैलाई पर्खिरहनुभएको हो कि भनेर...’ चस्मावाली जापानी मुस्कुराइन्, मेरो एकोहोरो टोलाइलाई सायद उनले पर्खाइको अर्थ लगाएको हुनुपर्छ । हतार–हतार टिकट लिएर म टावरको फस्ट फ्लोरतिर अघि बढें ।
अघिपछि केटा–केटीहरू सपिङमा व्यस्त हुन्थे यहाँ । कोही कफिसपमा एकअर्काको अनुहार नियाल्दै भावुकता पिइरहेका हुन्थे । कोही एक्जिविसन रुमभित्र तस्बिर लिँदै देखिन्थे । यसपटक मैले केही पनि देखिनँ । मात्र लिफ्ट देखें । सीधै थर्ड फ्लोरका लागि बटम दबाएँ । दायाँपट्टिको थिएटर पनि ख्याल गरिनँ । मानसपटलमा उही सपनाले एकोहोरो हानिरहेको थियो ।
सेकेन्ड फ्लोरको वाल पेन्टिङ ‘अक्वा फ्यान्टासी’ पनि हेर्ने मन भएन यसपटक । सोझै थर्ड फ्लोर उक्लेँ क्याफे ला प्लेजमा । अहँ, यहाँ पनि मन स्थिर हुन मानेन । एउटा अमेरिकानो हातमै बोकेर फोर्थ फ्लोर उक्लें । टोकियो बेको फराकिलो सुन्दरता मुर्दाजस्तै लमतन्न पल्टियो आँखैअघिल्तिर । उत्तरतिर चिबा मारिन स्टेडियम, जुलोजिकल पार्क र माउन्ट सुकुबा आशौच बारिरहेझैं लाग्यो । पूर्वतिर अग्ला गगनचुम्बी भवनहरू मलामी गइरहेझैं झोक्रिरहेका थिए । नारिता एयरपोर्ट पनि धुम्म शिर निहुरिरहेझैं थियो ।
यही एयरपोर्ट हुँदै जापान पसेको थिएँ १५ वर्ष वर्षअघि । मुलुकमा संकटकाल थियो । साँच्चि कमरेड रोशी कहाँ बेपत्ता भई ?

कमरेड रोशीलाई मैले जनयुद्ध सुरु भएपछि भेटेको हुँ । त्यसअघि त उनी कमरेड रोशी थिइनन् । लासाङ थियो उनको नाम । लासाङसितचाहिँ मेरो सानैमा भेट भएको हो ।
सानो छँदा एक दिन ठूलीआमाले मलाई आफ्नो माइती लिएर जानुभएको थियो । काभ्रेको रोशी खोला किनारैकिनार महाभारतको खोँचतिर अघि बढेपछि आइपुग्थ्यो लुर्पुङबेंसी । दसैंको बेला थियो । आँपको रूखमा पिङ खेल्दै गर्दा एउटी सुशील अनुहारसित मेरो भेट भयो । उनी नै थिइन् लासाङ । त्यतिबेला उनी ललिपप चुस्दै पिङ खोस्न आइपुगेकी थिइन् । पिङ खोसाखोसमै हाम्रो घनिष्ठता बढेको थियो । मंगलटारमाथि महाभारतको उचाइमा वाल्टिङ गाउँ छ । त्यहीँ थियो लासाङको घर । लुर्पुङमा चाहिँ मामाघर । उनी त्यहीँ बसेर पढ्दै रहेछिन् ।
त्यसको चार वर्षपछि नमोबुद्धको जात्रामा हाम्रो भेट भयो । मंसिर पूर्णिमाको दिन थियो त्यो । म दिवंगत हजुरआमाको सम्झनामा बत्ती बाल्दै थिएँ छ्योर्तेनछेउ । हजुरबा ङो गर्नतिर व्यस्त हुनुहुन्थ्यो । अचानक कसैले पछिल्तिरबाट मेरो कपाल तान्यो । फर्केर हेरें, एक सम्मोहित युवती मुस्कुराउँदै उभिएकी थिइन् ।
‘मलाई चिनेनौ ?’ अनुहारमा उमेरको आभा पोखाउँदै उनले सोधिन् ।
म असमन्जस्यतामा परें । सायद मेरो गाला पनि रातो भएको थियो त्यसबखत ।
‘लु हेर हेर लजाको...’ युवतीले त सीधै मेरो गाला पो चिमोट्न थालिन्, ‘पिङ खेल्दा झगडा गरेको बिर्स्यौ ?’ लासाङका औंलाहरूमा बैंस चढेको हुनुपर्छ । मलाई हल्ला दुःखाइ महसुसु भयो ।
त्यो एउटा अल्लारे समय थियो ।
त्यही दिन हामी बनेपा बजार गयौं । उनी एकदमै फरासिली भइछिन् । नयाँ बन्दै गरेको बसपार्कछेउ उनले मलाई गलबन्दी किनिदिइन् । मसित पैसा थिएन, निकै अप्ठ्यारो मान्दै उनको उपहार स्विकारें । उनका मामाचाहिँ खोपासी–तालढुंगा सडकको ठेकेदार थिए । पैसाको खाँचै थिएन ।
मयूर हलमा हिन्दी फिल्म ‘रंगिला’ चलिरहेको थियो । उनैले फिल्मको टिकट काटिन् । लासाङले मेरो पाखुरा च्याप्प समातेकी थिइन् । मलाई भने कस्तो–कस्तो लागिरहेको थियो । हलभित्र पुग्नासाथ एउटा अज्ञात न्यापोपनको महसुस भयो । फिल्म चल्दै गर्दा लासाङले बिस्तारै मेरो हातमा आफ्ना औंलाहरू ल्याएर खप्ट्याइन् । उनका औंला एकदमै तातिएका थिए । फिल्म सकिँदा हामी दुवैका औंलाहरू पसिनाले लछप्प भिजेका थिए ।
यसपछि हामी चारदोबाटो छेवैको सूर्य फोटो स्टुडियो गयौं । उनकै आग्रहमा दुवै जना उभिएर तस्बिर खिच्यौं । पैसा उनैले तिरिन् ।
त्यसको एक महिना नबित्दै हाम्रो तिमाल गाउँको स्कुलमा लासाङको चिठ्ठी आयो । खामबाहिर लेखिएको थियो, ‘लैजा चरी हावा सरी, पेम्बाको हातमा
पर्ने गरी ।’
चिठ्ठी दिनुअघि हेडसरले मलाई निकै घुरेर हेर्नुभयो । मलाई एकदमै अप्ठ्यारो लाग्यो । चिठ्ठी पाएपछिचाहिँ मनमा बेस्मारी उत्सुकता उम्लियो । कसैले नदेख्नेगरी सुटुक्क पिठौलीघारी गएँ । खाम खोलेर हेरें, बनेपामा खिचेको फोटोमा लासाङ मुसुक्क हाँसिरहेकी थिइन् । छेवैमा म हल्का लजाउँदै उभिएको थिएँ । पृष्ठभूमिमा सबैभन्दा माथि सुन्दर हिमाल, तल राता फूलहरू र दुबो लेपिएको सुन्दर बगैंचा ।
यसपछि नै हो मैले जीवनको पहिलो प्रेमपत्र लेखेको ।

मुलुकमा ‘जनयुद्ध’ चर्किँदै थियो ।
मेच्छेगाउँमा दौलतसिंहको घर लुटिएको चर्चासँगै रामेछापको बेथान चौकी आक्रमणको घटनाले हंगामा मच्चाइरहेको बेला लासाङ र मबिच भने प्रेमयुद्धको हंगामा मच्चिरहेको थियो । स्कुल, गाउँ, पाखाबारी, मेलादेखि गाउँका स–साना चियापसलसम्म हाम्रो प्रेमको सनसनी फैलियो । बुबा–आमा खेती किसानीमै व्यस्त– उहाँहरूलाई यतातिर केको चासो ?
प्रेमपत्र आदान–प्रदान जारी नै रह्यो । सायद प्रेममा अधीरता बढी हुन्छ क्यारे ! छ महिनामा हामीले सात–सातवटा चिठ्ठी आदान–प्रदान गरेछौं । यसपछि ? यसपछि भने उनी लासाङ रहिनन्– कमरेड रोशी बनिन् । हजुरबुबाले ठीकै भन्नुभएको रहेछ— साउनको भेल ह्वात्तै आउँछ, छिट्टै सुक्छ ।
तर, म त यति गहिरोसित प्रेममा परिसकेको थिएँ कि मनको खाटा सुक्नै मानेन । ढिँडो खाँदै गर्दा थालमा लासाङकै आकृति आएर थपक्क बसिदिन्थ्यो । पानी पिउँदै गर्दा अमखोरामा उनकै आकृति टिलटिलटिलपिल नाचेझैं लाग्थ्यो । विशेषगरी साँझपख असाध्यै नरमाइलो लाग्थ्यो । हाम्रो गाउँको आकाश हुँदै घाम महाभारत पर्वतमाथि अस्ताउँथ्यो । घरमास्तिरको छ्योर्तेनछेउ बसेर म लासाङको गाउँमाथि अस्ताउँदै गरेको घामको पहेंला किरण हेर्दै निकै बेर कोक्किएर रुन्थें । तिनताक हमेसा म घरको पश्चिमी झ्यालमा बसेर टोलाइरहन्थें । पश्चिमतिर लासाङको गाउँ पर्थ्यो ।
समय बित्दै गयो ।
मेरो एसएलसी बिग्रियो । दोस्रोपटक जसोतसो थर्ड डिभिजनमा पास भएँ । त्यसपछि पढ्न काठमाडौं आएँ । सहरको भुलभुलैया मनको मह्लम बन्यो ।
लासाङको चिठ्ठी आउन छोडेको डेढ वर्ष भइसकेको थियो ।
एक दिन गाउँ फर्किंदा मलाई दिनु भन्दै पसलमा कसैले बेनामे चिठ्ठी छोडेको थाहा पाएँ । जनवादी गीत गाउने एउटा टोलीले छाडिराखेको चिठ्ठी रहेछ त्यो । गाउँलेहरू निकै तर्सिएका रहेछन् । समय ठीक थिएन । सबैतिर त्रासको साम्राज्य थियो । स्कुलबाट केही विद्यार्थी जंगल पसेका थिए । तिनताक त्यस्ता बेनामे चिठ्ठीमा कि त अपरणको अग्रिम सूचना हुन्थ्यो, कि त चन्दा तोकिएको निर्णय ।
तर, त्यो चिठ्ठीमा भने रातो धागो बाँधिएको थियो । खोल्नुअघि निकै बेर सोचें । भयको भयंकर आँधी उठ्यो मनमा । अन्ततः हिम्मत गरें । सोचेभन्दा विपरीत भयो । अक्षरहरूमा त लासाङका औंलाका स्पर्श छरपस्टिएका थिए । मलाई एकाएक मयूर सिनेमाघरको सम्झनाले हिर्कायो । कस्तो विरोधाभास ! पानाभरि प्रणय हैन, क्रान्तिकारी स्पर्शका डोबहरू सल्बलाइरहेका थिए ।

प्रिय पेम्बा,
युद्ध मैदानबाट सम्झनाको दुई थुंगा फूल !
तिमी रिसाएका छौ भनेर मलाई राम्रोसँग थाहा छ । के गर्नु, तिमीलाई भन्नै नपाई समयको क्रान्तिकारी छलाङले मलाई अग्रगामी बाटोतिर हिँडाइदियो । मलाई लाग्छ— यही बाटो आजका युवाहरूले हिँड्ने उज्यालो बाटो हो ।
महाभारतको घना जंगलहरूमा बम र बारुदहरूसित लुकामारी खेल्दै गर्दा म तिमीलाई नै सम्झिरहेकी हुन्छु । चुरेको नागबेली उकालीहरूमा परिवर्तनको आवेग गाइरहेको बेला मेरा गीतको हर लयमा तिमी नै गुन्जिरहेको पाउँछु । आशा छ— एक दिन पक्कै पनि तिमीसित यही उज्यालो बाटोमा भेट हुनेछ । त्यसपछि हामी राता र क्रान्तिकारी मान्छेहरूको अग्रगामी मोर्चा साक्षी राखेर प्रेमको शंखघोष गर्नेछौं ।
–उही तिम्रो
लासाङ उर्फ रोशी

चिठ्ठीका धेरैजसो शब्द बुझ्न मलाई कठिन भयो । रोशी खोलासँग त उनको खास प्रेम नै थियो । त्यही भएर उनले आफ्नो नाम बदलेर रोशी राखिछन् । मेरो भने मन नै बदलिसकेको थियो । त्यही भएर चिठ्ठीका शब्दहरूले खासै स्पर्श गर्न सकेन । तर, जति कोसिस गरे पनि उनको यादले भने मनको भित्री तहमा झड्का दिई नै रहन्थ्यो ।
भोलिपल्ट बिहानै काठमाडौं फर्कें । तिनताक काठमाडौं पुग्न बनेपाबाट अर्को गाडी चढ्नुपर्ने पर्थ्यो । बनेपा आइपुगेपछि मनभित्र फेरि सम्झना भुलुक्क उम्लिएर आयो । मयूर सिनेमाहलको अघिल्तिरबाट गाडी गुड्दै गर्दा बलियोसित मन थामेर आँखा चिम्लिएँ ।
दिनहरू बित्दै गए ।
म सहर, उनी जंगल । मैले अब उनलाई बिर्सिनैपर्थ्यो । युद्ध र राजनीतिक अस्थिरताले सहरी युवाहरूमा क्रमशः निराशा बढ्दै थियो । धेरैजसो त विदेश पलायन हुने सोच राख्थे । म पनि जापानी भाषा सिक्न जान थालें । आरआर क्याम्पसपछाडि हवलचन्द्रको इन्स्टिच्युट थियो । तिनताक जापानी भाषाका लागि यो एकदमै राम्रो इन्स्टिच्युट मानिन्थ्यो ।
एक दिन इन्स्टिच्युटको फ्रन्ट डेस्कमा पल्टिरहेको एउटा समाचारले आँखा तान्यो । मानवअधिकारकर्मीहरूले सार्वजनिक गरेको सूचीको आधारमा लेखिएको समाचार थियो त्यो । राज्य र विद्रोही दुवैको तर्फबाट बेपत्ता पारिएकाहरूको नाम पनि त्यसमा थियो । तीमध्ये एउटा नाम थियो— लासाङ मोक्तान उर्फ रोशी । आमा भेट्न आएकी उनलाई साँझ खाना खाँदै गर्दा घरबाटै सैनिकहरूले उठाएका रहेछन् । मन भाउन्न भएर आयो— जापान जाऊँ कि गाउँ फर्कौं ?
द्वन्द्वकालमा गाउँ फर्किने कुरै भएन ।

टोकियो बेलाई चुमेर चिवा पोर्ट टावरमा ठोक्किन आइपुगेको हावाले मेरो गालामा बेस्सरी हिर्कायो । म झल्याँस्स भएँ । साँझ पर्न थालिसकेछ । अहो ! मलाई जेआर लाइन हुँदै सिनओगोबु पुग्नु छ । तर, मैले निर्णय फेरें । मलाई सपनामा पछ्याउने आकृतिले झन चिमोट्दै लगेको थियो । टावरबाट ओर्लिएर सोझै अपार्टमेन्टतिर फर्किएँ ।
अप्रिलको याम । अपार्टमेन्ट अघिल्तिरको फराकिलो सडक छेउछाउ बैजनी रङको साकुरा फुल्न थालिसकेको थियो । साँझ निकै बेर साकुराको बोटमुनि टोलाइरहें । अचम्म के भने मेरो सपनामा आउने सुनाखरी फूल, पुतली र साकुराको रङ एउटै थियो ।
त्यो साँझ पनि सपना दोहोरियो । यसपटक भयंकर आवाजसहित छरपस्टिएको पुतलीको बैजनी रङको पँखेटाले निर्माण गरेको इन्द्रेणीमा आकृति झन् स्पष्ट भएझैं लाग्यो । इन्द्रेणीबाट त्यो आकृति तलतल खस्दै गयो । लेकाली सालको घना जंगलभित्र दगुर्दै म आकृति पछ्याउन थालें । आकृति तलतल पुगेर निकै तल खोलाको अनकन्टार
सुसाइमा बिलायो ।
त्यो आकृति लासाङको जस्तै थियो ।
मलाई रातभर निद्रा लागेन ।
भोलिपल्टै टोकियो युनिभर्सिटीको मास कम्युनिकेसन्स डिपार्टमेन्ट पुगेर प्रोफेसर डा. तोसिआकी सेन्सेईलाई भेटें । अघिल्लो दिन आउन नसकेकोमा माफी माग्नु त छँदै थियो तर मैले सदाका लागि जापान छाड्ने निर्णय पनि उनलाई सुनाउनुपर्थ्यो ।
‘अहो, सुयोगवीर बन्न लागेजस्तै छौ त...’ उनले मलाई गिज्याएझैं गरे ।
पारिजातको उपन्यास ‘शिरीषको फूल’ माथि फिल्म बनाएको उनलाई सुयोगवीर मनोदशा राम्रैसँग थाहा थियो । उनले गिज्याएपछि मैले उनको फिल्मको दृश्य सम्झें । के म जताततै सकम्बरीको मुडुलो टाउको र उनको छाया मात्रै देखेर तडपिने सुयोगवीर सिन्ड्रोमबाट ग्रसित भएकै
हुँ त ?
मेरो एकतमासको गम्भीरता देखेपछि भने डा. तोसिआकी पनि गम्भीर भए ।
नेपाल फर्किनुअघिको साँझ हामीले सिवुयामा गएर अन्तिमपटक रक्सी पियौं ।

भुइँचालो गएको वर्ष दिन भइसकेको थियो ।
काठमाडौं उपत्यका निकै विरूप बनेको रहेछ । जापानको कमाइबाट बौद्धमा घर किन्न लगाएको थिएँ भाइलाई । मलाई घर एकदमै चिसो लाग्यो । सायद जापानको सिकनेस बाँकी नै थियो । डेढ दशकपछि देश फिरेको मान्छे । मुलुकमा के–के मात्रै भएन ? लोकतान्त्रिक आन्दोलन, राजाको बहिर्गमन चुनाव, माओवादी सरकार अनि भुइँचालो ।
मैले भाइलाई कमरेड रोशीबारे सोधें । लोकतान्त्रिक आन्दोलनको बेला उनी माओवादीसँग नजिक भएका थिए । उनले लामो निःश्वास ताने, ‘क्रान्तिकारी विचलन ! न सहिदको सम्मान, न बेपत्ताको खोजी । न त परिवारलाई राहत ।’
उनका अनुसार कमरेड रोशीको नाम सहिदहरूको सूचीमै थिएन । त्यसो भए के उनी जिउँदै छिन् त ? मन ढक्क फुल्यो । केही आशाको सुनाखरी पलायो ।
भाइले नै मलाई कमरेड छिन्ताङको नम्बर दिए । तिनताक छिन्ताङ राजनीतिक कमिसार थिए सायद । छिन्ताङलाई भेट्न भोलिपल्टै म बनेपातिर हानिएँ ।
उनको मोबाइल लामो समय व्यस्त भयो । म मयूर सिनेमाहल पुगें । हल बन्द थियो । फिल्म चल्न छाडेछ नेपालमा । मैले पालेलाई पाँच सय रुपैयाँ दिएर फकाएँ । भित्र छिरें । बाल्कोनीको सिटमा गएर बसें । दाहिनेतिर अनुहार फर्काएँ । लासाङ त्यहाँ थिएन । उनको हातको स्पर्श पनि थिएन ।
मेरो अनौठो व्यवहार देखेर पाले छक्क परे । मैले उनको हातमा अर्को पाँच
सय थमाइदिएँ ।

अर्को दिन हामी खोपासी तालढुंगाको कच्ची बाटो बाइकमा हुइँकिरहेका थियौं । छिन्ताङ चुपचाप थिए । खासमा मलाई उनले केही पनि भनेका थिएनन् । यति भनेका थिए कि म तपाईंलाई कमरेड रोशी भेटाइदिनेछु ।’
मचाहिँ उनको बाइककै पछाडि घना उत्सुकता बोकेर मनको हावामा कावा खाइरहेका थिए— के कमरेड रोशीको बिहे भयो होला ? कतै तालढुंगातिर जाँडको भट्टी थापेर त बसेकी छैन ? स्याउँस्याउँती बालबच्चा जन्माइन् कि ? तिनले मलाई कसरी भुल्न सक्छिन् हँ ?
बाइक खानीखोलासम्म मात्रै जाँदोरहेछ । पहिरोले खाएको रहेछ बाटो । त्यहाँबाट हामी हिँडेरै तालढुंगा पुग्यौं । काठमाडौं उपत्यकाबाट फोहोर बगेको वाग्मती त यहाँ सङलो भएर बग्दोरहेछ ।
‘खै कमरेड रोशी ?’ मैले सोधें ।
‘आज हैन भोलि भेट हुन्छ,’ छिन्ताङले भने ।
त्यो साँझ उनकै काकाको घरमा बास बस्यौं । अनौठो के भने नेपाल आएपछि मलाई सपनाले पछ्याउन छाडेको थियो ।
भोलिपल्ट बिहानै छिन्ताङले गाउँको गोरेटो बाटो हिँडायो । घर्तीछापतिर जाने बाटो रहेछ त्यो । तीन घण्टा हिँडेपछि एउटा गाउँ आयो । कमरेड रोशीले बिहे गरेको गाउँ यही पो हो कि ? तर छिन्ताङ केही बोलेनन् ।
गाउँमास्तिरको नागबेली बाटो महाभारत लेकतिर उक्लिन्थ्यो । अघिअघि छिन्ताङ, पछिपछि म । अचम्म, सपनामा देखिएको जस्तै लेकाली सालको घना जंगल आइपुग्यो ।
घुर्माइलो मौसम । घाम डाँडापारि डुबिसकेको भए पनि आकाश रातो थियो । रक्तिम किरणले डढेको बादल मन रुवाउने गरी साम्राज्य विस्तार गरिरहेझैं देखिन्थ्यो । एउटा लोभलाग्दो नागबेली बाटो लेकतिर मोडिन्थ्यो ।
हामी त्यही बाटोमा उभियौं, जसरी म सपनामा सुनसान उभिएको थिएँ ।
‘अब ऊ त्याँ ढिस्कोमा जाऊँ,’ छिन्ताङको स्वर कामेजस्तो भयो ।
हामी सरासर ढिस्कोमा पुग्यौं । अक्करे भीरको तल निकै तल एउटा खोला बगिरहेको थियो— कोखाजोर खोला ।
‘कमरेड रोशीलाई यहीँनेर नांगै उभ्याइयोको थियो,’ छिन्ताङको स्वर
झन् काम्यो ।
मेरो मनमा एकाएक भयको ढ्याङ्ग्रो बज्यो ।
‘हामी तीन जना यहाँ लस्करै बाँधिएका थियौं । आँखामा पट्टी लगाइएको थियो । कमरेड रोशी ‘जनयुद्ध जिन्दावाद’ भन्दै जोड–जोडले चिच्याइरहेकी थिइन् ।’
‘अनि ?’ म अधीर हुँदै गएँ ।
छिन्ताङ भन्दै थिए—
‘यही बेला गोली चलेको आवाज सुनियो । कमरेड रोशीको आवाज बन्द भयो । मेरो दाहिने पाखुरामा तातो पदार्थ सल्बलाएको जस्तो भयो । तत्क्षण एउटा अँध्यारो सुरुङजस्तो खाडलमा खस्यौं हामी । निकैपछि एउटा भयंकर आवाजसहित चिसो पानीको दहमा खसेको झैं भयो । पानीको छालले मेरो आँखाको पट्टी खुल्यो । हामीलाई यही ढिस्कोबाट गोली हानेर तल खोलामा खसाइएको रहेछ । दाहिने पाखुराबाट रगत बगिरहेको थियो । पानीमुन्तिर लुक्दै निकै तल पुगेर म निस्केँ । अनि राति नै मकवानपुर राईगाउँको सेल्टर पुगेर पार्टीलाई रिपोर्ट गरें कि ‘कमरेड रोशीलाई
बचाउन सकिएन... ।’
यति भनेपछि छिन्ताङ भक्कानिदै रुन थाले । एकाएक मेरो मुटुको चाल रोकियो । आँखामा आक्रोशको आँसु बग्न थाल्यो । आँसुमा एउटा इन्द्रेणी खडा भयो । इन्द्रेणीभित्र सपनामा आइरहने लासाङको उही आकृति मुस्कुराउँदै उभियो । एक छिनपछि आकृतिको अनुहार सुस्तरी मलिन बन्दै गयो । तल–तल खस्दै गयो । म फेरि दौडिदै ढिस्कोमाथि पुगें । आकृति निकै तल पुगिसकेको थियो । कोखाजोर खोलाको सुसाइमा बिलाउनुअघि लासाङको आकृति झन् स्पष्ट भयो । उनी भन्न खोज्दै थिइन्, ‘पेम्बा, मलाई माफ गर, मैले तिमीलाई भुलेकी छैन ।’
म भावशून्य टोलाइरहें ।

Page 23
कोसेली

निडर

- अभय श्रेष्ठ

१.
‘बहिनी, आज एक रातलाई बास पाइएला ?’
सुसेलीजस्तो यो सुरिलो स्वर उसलाई कताकता सुनिरहेजस्तो लाग्यो । कसको स्वर हो ? अहो, यो त उसकै श्रीमान्को जस्तो स्वर थियो, जुन उसले सुन्न नपाएको वर्षौं भइसकेको थियो । तर, उसलाई ‘बहिनी’ भनेको कसोकसो नसुहाएझैँ लाग्यो । यसो ठम्याएर हेरी । निलो जिन्स प्यान्ट, रातो ज्याकेट र गोल्डस्टार जुत्ता लगाएको यो मान्छे अलि ठूलो काँटीको छ । उसको श्रीमान् उत्तिसको रूखजस्तै सुरिलो र हल्का काँटीको थियो । उसको अलमल देखेर त्यो मान्छे हाँस्यो । निलो ट्र्याक–सुट लगाएका जुम्ल्याहाजस्ता देखिने दुइटी केटी पनि हाँसे । होइन, हाँसो पनि उसकै श्रीमान्को जस्तो छ ! तरुनी आइमाई भएर परपुरुषलाई क्वारक्वार्ती हेर्नु पनि भएन । तर, उसलाई त्यो मान्छे हाँसेको हेर्न मन लाग्यो । उसको श्रीमान्को अगाडिका दुइटा कोदालीपाते दाँतको दायाँबायाँका दुई दाँत थोरै अगाडि आएका थिए । त्यसमा गज्जबको हिस्सी थियो ।
‘बहिनी त टोलाउन थाल्नुभयो । हामीले आज एक रातलाई बास मागेको । भोलि बिहानै हिँड्नु छ । दुई दिनदेखि पानीबाहेक केई खान पाका छैनौं । बहिनीले एक रातलाई बास र अलिकति गाँस दिनुभयो भने ठूलो गुन मान्नेछौँ ।’
पानीबाहेक केही खान नपाएको सुन्दा एक्कासि उसलाई छातीमा चसक्क बिझेजस्तो भयो । नजानिँदो पाराले करुणा पलाएर आयो । कठै, के पाउँला भनेर यी भोकभोकै हिँडेका होलान् ? यस्तो लहलह यौवनका केटीहरू किन यो मान्छेको पछि लागेका होलान् ?
‘आउनुस्,’ सँघारबाटै उसले बोलाई । होचो ढोकाबाट निहुरिँदै उनीहरू भित्र छिरे । भर्‍याङमुनि झोला बिसाए । मझेरीमा उसले खोस्टाका दुइटा चकटी र एउटा मुढा राखिदिई ।
‘कमरेड आजाद, तपाईंको कम्मर सारै दुख्या छ, मुढामा बस्नुस्’, दुईमध्ये अलि दुब्ली केटीले लोग्नेमान्छेलाई भनी ।
‘कम्मर त मेरोभन्दा बढी तपैँहर्कै दुख्या होला,’ उसले भन्यो, ‘त्यत्रो हिँडेर आउनुभो । तपैँहरूमध्ये एक जना बस्नुस् !’ तिनीहरूले आफ्नोभन्दा अर्काको दुःखाइलाई महत्त्व दिएको देख्दा उसलाई फेरि श्रीमान्को याद आयो । श्रीमान् बिहान, बेलुकी पूरै दुई घण्टा हिँडेर स्कुल पढाउन पुग्थ्यो । अनि हरेक बिहान जाँगर चलाएर बारीमा कुटो, कोदालो चलाउँथ्यो । त्यति गरेर पनि खाना बनाउने बेला उसलाई सोध्थ्यो, ‘तिमीलाई थकाइ लाग्यो कि ?’
एक्कासि उसलाई त्यो मान्छे अर्थात् कमरेड आजादको कम्मरमा घसीघसी तेल लगाइदिऊँझैँ, जीउभरि मालिस गरिदिऊँझैँ लाग्यो । आजाद हाँसिरहेको थियो । त्यो हाँसेको उसले चोरेर हेरी । त्यसले ओठ फुकाएको कति राम्रो ! तर, त्यसका दाँत राम्ररी देख्न पाइन ।
उसले भित्तामा ठड्याइएको परालको ठूल्ठूला आँख्ला भएका सुकुल फिँजाइदिई ।
‘लौ, यसमै पल्टेर कम्मरलाई आराम दिनुस् ।’
‘भइहाल्यो नि बहिनी, किन दुःख गर्नुभएको ?’
‘एक छिन उत्तानो परेर, हातखुट्टा फालेर पल्टनुस्’, उसले रामवाण सुझाई, ‘एकै छिनमा कम्मर दुखेको निको हुन्छ ।’ आजाद अप्ठेरो नमानी पसारो पर्‍यो । केटीहरू हाँस्न थाले । आजादले उनीहरूलाई पनि उसैगरी पल्टेर आराम गर्न इसारा गर्‍यो । सरम मान्दै उनीहरूले नाइँ भनिरहे ।
ऊ धूवाँ पुतपुताइरहेको चुलामा दाउरा ठोस्न थाली । आगोको झिल्का माथितिर उड्यो । अनि बाँसको ढुंग्राले फुकी । आगो बल्यो । अँगेनामा सिलाबरको डेक्ची बसाली । त्यसमा पानी राखी । चिया, नुन र चिनी राखी । तख्ताबाट झिकेर अदुवा पखाली । सिलौटोमा थिचेर चियामा राखी । पानी स्वाइँयँ गर्‍यो । एकै छिनमा उम्लनै थाल्यो ।
तख्ताबाट गिलास निकाली र चिया खन्याउन थाली । छिनभरमै आजाद घुर्न थालेको थियो । थकित हुँदा उसको श्रीमान् पनि यसैगरी बोल्दाबोल्दै, ठट्टा गर्दागर्दै घुर्न थाल्थ्यो । अनि ऊ श्रीमान्सँग रिसाउँथी । अहिले भने आजादसँग उसलाई पटक्कै रिस उठेन । बरु त्यसलाई पुर्लुङ्ग पल्टाइदिएर जिस्किरहुँझैँ लाग्यो ।
केटीहरूले आजादलाई उठाए । ऊ हाँसी । आजाद पनि हाँस्यो । पातलो ओठ खोलेर खिसिक्क हाँस्ने तरिका पनि ठ्याक्कै उसको श्रीमान्को जस्तै थियो ।
‘लौ, बहिनी त डाक्टरै हुनुहुँदोरहेछ । मलाई त सन्चो भइहाल्यो,’ आङ तन्काउँदै आजादले भन्यो । उसले पहिला आजादलाई नै चियाको गिलास थमाई । आजादको हातसँग उसको हात जुध्यो । त्यसको मनतातो हातको स्पर्श सुमधुर थियो । उसले दुइटी केटीलाई चिया दिन झन्डै बिर्सेकी !
‘अनि, बहिनीको घरमा त कोही देखिनुहुन्न ! श्रीमान्, केटाकेटी, सासू, ससुरा खोइ त ?’ आजादले प्रश्नको मुहान यसरी खोल्यो कि उसको बोलीमा ताल्चा लाग्यो । मझेरीभरि मसानतुल्य सन्नाटा फैलियो । तीनै जना पाहुना चियासमेत पिउन छाडेर आफैं यो वेदनामय सन्नाटामा सहभागी भए । एक्कासि उसलाई छाती पिटीपिटी रोऊँझैँ लाग्यो ।
चिसो दाउराको धूवाँले उसको पीरको आँसु थपिदियो । कुर्ताको फेरले पुछ्न अप्ठेरो भयो । थुक निल्दै आँसु र सिँगान फाल्न बाहिर निस्किई । धारामा हातमुख सफा गरेर भित्र छिरी । अब ऊ भात बसाल्ने तरखर गर्न थाली । पहिला कसौँडी भिजाई । त्यसको पिँध रातो माटोले पोती । अनि त्यसमा खरानी दलेर चुलामाथि बसाली । चामल र पानी त पहिल्यै हालिसकेकी थिई । दुइटी केटीले आलु र मूला पखालेर काट्न सघाए । आजाद लसुनको बिजुला खोसल्न थाल्यो ।

२.
खुसी आफूसग रहुन्जेल मान्छेले चिन्न सक्दैन । गुमिसकेपछि यो कति अमूल्य थियो भन्ने बल्ल थाहा पाउँछ । कुनै विद्वान्ले भनेको यो कुरा उसको जीवनमा ठ्याक्कै लागू भयो । पढे–लेखेको, गाउँको प्रतिष्ठित शिक्षक, जाँडरक्सी नछुने, जुवातास नखेल्ने, कसैको चित्त दुखाएर नबोल्ने श्रीमान्को आत्मसम्मानमा चोट पुर्‍याउने काम उसले खुबै गरी । श्रीमान्ले सोझो मुखले बोल्दा ऊ झर्केर जबाफ दिन्थी । कुनै कारणबिना महिनौँसम्म नबोलेर बस्थी । अहिले उसलाई आफ्ना श्रीमान्को गुण र आफ्नो चोथाले स्वभाव सम्झेर आफ्नै टाउको भित्तामा ठोकूँझैँ लाग्छ ।
उसको श्रीमान्को अपहरण भएको दिन बिहान सूर्यग्रहण थियो । श्रीमान्ले भनेको थियो, ‘आज सूर्यग्रहण छ ।’
‘भए मैले के गर्ने त ?’ उसले टिम्मुर्किंदै प्रतिप्रश्न गरेकी थिई ।
‘चाँडै भात पकाएर खाने, म स्कुल जाने, तिमी घरमै आराम गरेर बस्ने ।’
‘यो मान्छे त खानै नपाएर मरेको रहेछ,’ धारे हात लगाउँदै उसले भनेकी थिई ।
त्यसपछि चित्त कुँडाएर खानै नखाई श्रीमान् स्कुल गएको थियो । दोस्रो पिरियड पढाइरहँदा दुई जना युवकले उसलाई बाहिर बोलाए । बाहिर अरू दुई जना थिए । तिनीहरूले उसको हात पछाडि फर्काएर टनटनी बाँधिदिए । विद्यार्थी र शिक्षकले तिनीहरूलाई घेरा हाले । एउटा केटोले रिभल्भर निकाल्यो र आकाशतिर फायर गर्‍यो । कुखुराको चल्लाझैँ दच्किएर सबै जना स्कुलको कुनामा लुक्न पुगे । त्यसपछि खेतको आली र कान्ला उकाल्दै उसलाई लिएर पूर्वतिर जंगलमा लगे । विद्यार्थी, शिक्षक र सारा गाउँले उसको सज्जनता र न्यायप्रियताको गुण गाएर थाक्दैनथे । त्यस्तो मान्छेलाई हात बाँधेर जंगलतिर लगेको घटनाले पूरै गाउँ शोकसन्तप्त थियो । के उसको श्रीमान्ले माओवादीविरुद्ध सुराक गरेको थियो ? कि भित्रभित्रै जनयुद्धमा संलग्न थियो र माओवादीले गद्दार घोषणा गरेको थियो ? त्यस्तो कुनै कुरा कसैलाई थाहा थिएन ।
त्यसयता दस वर्ष बित्यो, उसको श्रीमान्को कुनै पत्तो छैन । कोही भन्छन्, माओवादीले छपक्कै काटिदिए । कोही भन्छन्, पल्लो गाउँमा सेनासँग भिडन्तका क्रममा ऊ पनि मारियो । गाउँकै एउटा केटाको कुरा पत्याउने हो भने वरिपरिका गाउँले भेला पारेर अपहरण गरेको पाँचौँ दिन ऊसहित अन्य दुई जनालाई कालो कपडाले मुख छोपेर रूखमा बाँधी बन्दुकधारीहरूले गोली ठोकिदिए रे । रे, रे, रे, रे । मात्रै रे । देखिजान्या कसैले होइन । न सरकारले, न विद्रोहीले उसको हत्याको सूचना दिएको छ । अनि यस्तो कुरा लासै नदेखी कसरी पत्याउनु ?
‘मुख कसैले देख्या होइन, कपडा हेर्दा मेरै बूढो हो भन्थे । तर, त्यतिको भरमा कसरी पत्याउनु ? मन त मान्दै मान्दैन,’ लामो सास तान्दै उसले भनी, ‘यत्रो वर्षसम्म नआउँदा मरिसक्योजस्तो पनि लाग्छ । तर भित्री मनमा एक दिन मेरो बूढो पक्कै फर्कन्छजस्तो लाग्छ ।’
‘धैर्य गर्नुस् बहिनी, तपाईंको श्रीमान् अवश्य फर्कनुहुन्छ ।’
‘तपैँले देख्नुभको छ र ? कसरी भन्नुहुन्छ ?’
‘होइन, बाँचेको भए अवश्य फर्कनुहुन्छ भन्न खोजेको । किनभने आन्दोलनकारी दल र विद्रोहीबीच युद्ध बिसाउने सहमति भइसकेको छ ।’
भात अघि नै पाकिसकेको थियो । आलु र मुलाको झोलिलो तरकारी भकभकी उम्लँदा बिर्कोलाई धक्का दिइरहेको थियो । उसले सिलौटामा नुन, खुर्सानी र टिम्मुर पिँधेर अचार बनाई । अनि तिनटा सिलाबरको थाल फिँजाएर भात पस्कन थाली ।
‘बूढो हराएको छ महिनापछि काखे नानीलाई निमोनिया भयो । बल्ल डेढ वर्ष भएकी थिई । सदरमुकाम पुग्नै दुई दिन हिँड्नुपर्ने,’ पाहुनालाई थाल सारिदिँदै उसले भनी, ‘भोलिपल्ट अस्पताल लान्छु भन्दाभन्दै अघिल्लो राति नै बिती ।’
उसले आँखा पुछी । तीनै जना पाहुनाबीच सन्नाटा यसरी फैलियो, तिनले सुपुसुपु भात निलेको आवाज
प्रस्टै सुनियो ।
‘दुःख पनि कति सुनाउनु, छोरोको पीरैपीरले दुई वर्षभित्र सासू–ससुरा पालैपालो बितिगए,’ आँखीझ्यालबाट बाहिरतिर औँल्याउदै उसले भनी, ‘त्यसपछि बुढीभन्ज्याङको यो
धसिङ्गारे पहाडजस्तै म एक्ली छु । यही घर अघिल्तिरको बारी जसोतसो खनी, खोस्री गर्छु । बाँकी सबै खेतबारी
बाँझै छन् ।’

३.
आजादलाई उसले मझेरीमै ओछ्यान लगाइदिई । अनि केटीहरूलाई माथि कोठामा जाऊँ भनी । केटीहरूले बिहान चाँडै हिँड्नुपर्ने भएकाले मझेरीमै सुत्न जिद्दी गरे । आजादलाई त उसले आफ्नै डस्ना, सिरक दिएकी थिई । बाँकी अब एउटा रग, आफ्नै दोलाईं र तन्नाबाहेक केही थिएन । केटीहरूलाई उसले त्यही ओछ्याइदिई । तिनीहरू आफ्नै झोलाको सिरानी बनाएर सुते । अनि माथि डस्ना र सिरकबिनाको खाटमा ऊ गुन्द्रीमाथि गुडुल्को परेर सुती ।
आजाद सायद निदाइसकेको थियो । केटीहरू गुनगुन गरिरहेका थिए । सिरक थिएन । त्यसमाथि मन त कवाज खेल्ने टुँडिखेल नै भइरहेको थियो । यस्तोमा कसरी लागोस् निद्रा ! ननिदाई एक घण्टा बित्यो । दुई, तीन, चार र पाँच घण्टा पनि छर्लंग बित्यो ।
ननिदाई त्यसै सुतिरहनुभन्दा पाहुनालाई खाजा बनाइदिनुपर्‍यो भनेर उठी । तिनको निद्रा नखलबलियोस् भनेर बिरालाको चालले भर्‍याङको खुड्किला चाल्दै मझेरीमा ओर्ली । भर्‍याङमुनि नै आजाद शान्तिपूर्वक निदाइरहेको थियो । केटीहरू भने झोलाको सिरानी छाडेर एउटी पूर्व र अर्को पश्चिमतिर टाउको पारेर असरल्ल सुतिरहेका थिए ।
उसले बिस्तारै ढोकाको चुकुल खोली । चर्पी गएर फर्कंदा तीनै जना जाने तर्खर गरिरहेका थिए ।
‘लौ त बहिनी, अब हामी जान्छौँ । तपैंलाई धेरैधेरै धन्यवाद छ । बरु, पैसा कति दिनुपर्ला ?’ कर गर्दा पनि पाहुनासँग पैसा लिन उसले मानिन । आजादले नमस्कार मुद्रामा हात जोड्यो । एक्कासि उसलाई घाँटीमा केही अड्केजस्तो, पाएको केही अमूल्य वस्तु फेरि हराएजस्तो लाग्यो । उसले आजादको जोडिएको हात च्याप्प समाती । आजाद मुसुक्क हाँस्यो । बल्ल दाँत राम्ररी देखियो । त्यसका दाँतमा पनि उसको श्रीमान्को जस्तै गजबको हिसी थियो ।
‘यतै बस्नुस् न, किन जानुहुन्छ ?’ अहो, उसको मुखबाट यो निस्कियो !
‘हजुर ? के भन्नुभयो ?’ आजादले हात छुटाउँदै भन्यो ।
‘चिया खाएर जानुस् । म खाजा बनाइदिन्छु, लिएर जानुहोला,’ उसले आफूलाई सच्याई ।
‘तपैँले जे गर्नुभयो, त्यही लाख भो बहिनी ! लौ त राम्ररी बस्नुस् । फेरि फेरि बाटो पर्दा अवश्य छिरौँला ।’
बाहिर अँध्यारोमा तीनटा छाया निस्किए र छिनभरमै गायब भए । अब यो मध्यरातमा के गर्नु थियो र ! आग्लो लगाएर ऊ आजाद सुतेको ओछ्यानमै सुती ।

४.
बिउँझँदा माघे तुसारो गलाएर घाम आँगनमा ओर्लिसकेको थियो । उत्तरतिर जुगल हिमाल सुनझैँ झलमल्ल चम्किरहेको थियो । तलतिर ठूलो हल्लाखल्ला सुनियो । मानिसहरू दगुर्दै बारीको पाटातिर ओर्लिरहेका थिए । ऊ पनि तिनकै पछाडि दगुरी । सुक्खा बारीको बकैनाको लहरै तिनटा रूखमा दायाँबायाँ दुई युवती र बीचमा एउटा लोग्नेमान्छे बाँधिएका थिए । तीनै जनाका शिर लत्रिसकेको थिए ।
को थिए तिनीहरू ? हरे, यिनीहरू गए राति उसकै मझेरीमा बास बसेका लडाकु थिए । उसको छाती गह्रौं भयो । एउटा सिपाही बन्दुकको कुन्दाले तिनीहरूको पेटमा घोचिरहेको थियो, जहाँबाट पानीको मूल फुटेझैँ रगत ओर्लिरहेको थियो । सेनाले तिनको हातको डोरी फुकाए र बारीमा सुताए ।
केटीहरू शान्त भइसकेका थिए । आजादचाहिँ अझै थरर्र कामिरहेको थियो । एउटा सिपाहीले त्यसको टाउकोमा तीनपल्ट जोडले दाउरोको चिर्पटले हिर्कायो । टाउको फुट्यो । रगत बग्यो । एकै छिनमा ऊ पनि शान्त भयो । एक्कासि उसलाई आफ्नो श्रीमान् फर्किआउने अन्तरहृदयको सपना यहीँ पटाक्षेप भएझैँ लाग्यो ।
क्रूरताको यो हेरिनसक्नु दृश्य देखेर अरू महिलाजसरी उसले रुने, चिच्याउने काम गरिन । बरु, त्यही घटनादेखि उसको मनबाट डर सधैँका लागि गायब भयो ।
@avayashrestha

कोसेली

गन्धे झार

मैले सम्झेदेखि बुबालाई देखिनँ । उहाँको अनुहार कस्तो छ ? किन फर्कनुभएन ? केही थाहा छैन ।
- बिना थिङ तामाङ

मिर्मिरेमा मुख धुने पानीसँगै हुन्छु म
आगो फुक्न खोज्छौ नि, खरानीसँगै हुन्छु म
तिम्रा लागि मेरो याद, लेखेर पो के साध्य
तिमीले हेर्ने दुई आँखाको नानीसँगै हुन्छु म
‘नयाँ साल २०५६ को हार्दिक मंगलमय शुभकामना ।’ मैले ओछ्यानमुनिबाट पोस्टकार्ड झिकेर हेरें । पोस्टकार्डको पछाडि मुक्तकसहितको शुभकामना थियो । देब्रेपटि लेखिएको थियो— प्रेषक दीपेश थापा । दाहिनेपट्टि प्रापक– चिनीमाया लामा ।
घाम ओइलाएर गयो । पुसको धङधङी आधाउधी बाँकी थियो ।
‘चिनीमाया एक अँगालो ढोड लेरा त ।’ आमाको आवाज आएपछि कार्ड सिरानीमुनि घुसारें । बारीमा गएँ । आफ्नो हरियो अस्तित्व गुमाउदै जानुपरेको पीडामा झार त्यसैत्यसै लत्रिएको देखिन्थ्यो । त्यसमाथि हिउँदको धूलोले साम्राज्य जमाएको थियो । छपक्क । मैले गन्धे झारको मसिनो फूल चिमोटेँ । फूलबाट निस्केको हरक मेरो श्वासनली हुँदै फोक्सोमा पुग्यो । लामो श्वास छोडेँ । फेरि तानेँ । फेरि छोडेँ । मलाई मज्जा लाग्यो । यसरी गन्धे झारको हरक सुँघ्न मभन्दा दीपेश खप्पिस थियो ।
‘बारीको पाटापाटा दिदीसँगै मेलामा उभिँदादेखि यसको हरक सुँघेको हुँ । म यो झार सुँघेरै हुर्कें । सबैबाट उपेक्षित यो झार र म उस्तै हुँ ।’ दिपेश भन्ने गर्थ्यो । त्यसयता गन्धे झार मेरो पनि आदत बनेको थियो । तर ऊ गायब भएको महिनौं भइसकेको थियो ।
मैले एक अँगालो ढोड बटुलेँ । टाउकोमा राखेँ । सरासर गोठतिर गएँ ।
गोठको मध्यभागमा चुल्हो थियो । बाले तीनवटा ठूला ढुंगा बटुलेर चुल्हो बनाउनुभएको थियो । चुल्होको दुई प्रयोजन थियो । एउटा बंगुरलाई चारो पकाउन । अर्को जाँड बिग्रियो भने रक्सी पार्न । त्यस बिहान आमाले ठूलो फोसीभरि कर्कलोको फाँडो पकाउनुभयो । र, मकैको जाँड बसाल्नुभयो । मेरो ड्युटी भनेको चुल्होमा आगो लगाउनु । रक्सीको भान तात्दै गयो । ढोड ह्वार्र सल्कने । निभ्ने । दिमागमा पनि त्यस्तै ह्वार्र केही बल्थ्यो । फेरि निभ्थ्यो ।
‘दीपेश कहाँ गयो होला ?’
‘के ऊ आफ्नो एक्लो आमालाई छोडेर जान सक्छ ?’
मेरो दिमागमा प्रश्नहरूको रिले चलिरह्यो ।
म सधैं ऊ आउने बाटो कुर्थें । बिहानको कक्षा चल्दासँगै स्कुल जान्थ्यौं । झिसमिसेमा लामो पाइला चाल्दै ऊ आउँथ्यो । लामा हातगोडा थियो उसको । दुब्लो । धतुरो फूलको जस्तो थियो, शरीरको रङ । सुलुत्त परेको नाक । कैला लाम्चा आँखा । कफी रङको नरम कपाल । ऊ हाँस्दा देब्रे गालामा खोपिल्टा पर्थ्यो । फुर्केचौरमा बस्थ्यो । आमा र दिदीसँग । उसको बाबु इन्डिया पलायन भएका थिए ।
‘मैले सम्झेदेखि बुबालाई देखिनँ । बुबाको अनुहार कस्तो छ ? उहाँ किन फर्कनुभएन ? केही थाहा छैन । आमालाई सोध्छु । मौन बस्नुहुन्छ । किन हो गाउँलेले पनि अनौठोसँग मलाई हेरेजस्तो लाग्छ ।’ गहिरो सास लिँदै दीपेश भन्थ्यो । उसको आँखामा गुनासो हुन्थ्यो । आमाप्रति । बुबाप्रति । गाउँलेप्रति ।
ढुंगाको एकपाखे अग्लो घर थियो दीपेशको । टायलको छाना भएको । घरको एउटा कुनामा बाख्रा बाँधिन्थ्यो । कुखुरा छोपिन्थ्यो । अर्को कुनामा ओछ्यान हुन्थ्यो । घरको पश्चिम कुनामा ढुंगाको चुल्हो थियो । उसकी दिदी सबेरै चुल्होमा तावा बसाल्थी । गहुँको सुक्खा रोटी पोल्थी । ह्यामानको ढुंगाको सिलौटामा नुन खुसार्नी पिन्थी । सुतीको नरम कपडामा रोटी पोको पारेर राख्थी । अनि मेलामा जान्थी । कहिले मकै गोड्न । कहिले कोदो टिप्न । उसकी आमा पनि बिहानैदेखि बनीमा गएकी हुन्थिन् । दीपेश बाख्रालाई स्याउला झुन्ड्याउँथ्यो । चल्लालाई कनिका छर्थ्यो । घर बढार्थ्यो । ओछ्यान मिलाउँथ्यो । दिदीले पकाएर राखेको रोटी नुन खुसार्नीमा चोपेर खान्थ्यो । अनि स्कुल हिँड्थ्यो । ऊ मेरो सहपाठी थियो । स्कुलमा ऊ अलिक झोँक्की छात्राको रूपमा परिचित थियो । उसलाई धेरै कुरासँग चित्त बुझाइ थिएन । रक्सी पिएर कक्षामा आउने मास्टरसँग सबैभन्दा बढी क्रुद्ध हुन्थ्यो ।
–हेडसरको कमजोरी हो । यस्तो शिक्षकलाई कारबाही गर्नुपर्छ । तर किन केही गर्दैनन् ?
–हाम्रो स्कुल किन साहित्यिक कार्यक्रम आयोजना गर्दैन ?
–सन्तु दाइलाई निकालेर लेखापाल सरको गाउँलेलाई किन पियनमा राखेका ?
–अरे, मेरो नाम छ, दीपेश थापा । तर तिनीहरू किन मलाई कैले भन्छन् ?
–हाम्रो कुकुरलाई छिमेकी किन लात्ताले भकुर्छ ?
–मेरो बुबा आए नि नआए नि गाउँलेलाई के मतलब ?
दीपेशभित्र असन्तुष्टिका बक्ररेखाहरू थियो ।
‘चिनीमाया, मलाई यो संसारमा कसैप्रति सम्मान जाग्दैन । विश्वास पनि लाग्दैन । कोही मलाई बुझ्दैनन् । मलाई बुझ्ने तैँ एउटा छस् ।’
मलाई भेट्दा प्रायः ऊ गुनासो गर्थ्यो । रिस पोख्थ्यो । माया जताउँथ्यो ।

शैक्षिक सत्र २०५६ । कक्षा ९ मा उक्लिएको वर्ष । त्यस दिन हामी कक्षामा ज्यामितिको साध्यमा अलमलिएका थियौं । रिजाल सर हाम्रो दिमाग भुट्दै थिए ।
‘सर एक छिन हामी विद्यार्थीहरूसँग बैठक गर्छौं ।’
कक्षाको ढोकामा छ जना केटा उभिएका थिए । तिनीहरूको ओठमाथिको धारिलो जुँगा प्रस्ट देखिन्थ्यो । तीमध्ये होचो केटाले अनुमति माग्यो । रिजाल सर अकमकिए । केटाहरू ह्वार्रै कक्षामा पसे ।
‘विद्यार्थी भाइबहिनीहरू, अभिवादन । म साम्देन मोक्तान । क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला अध्यक्ष । हाम्रो संगठन विस्तारको क्रममा छ । तपाईंहरू पनि हाम्रो संगठनमा आबद्ध हुन सक्नुहुन्छ । संगठनले स्कुलका विकृति विसंगतिविरुद्ध आवाज उठाउँछ । विद्यार्थीको जायज माग पूरा गर्न विद्यालय व्यवस्थापन समितिलाई दबाब दिन्छ ।’
श्यामश्वेत वर्णको साम्देनले आफ्नो पुटुक्कको हात निकै जोडले हल्लायो । उसको थेप्चो नाकको पोरा फुल्यो । जोसिएर भाषण गर्दा ऊ निदाएको जस्तो देखियो । त्यस दिन हाम्रो कक्षाबाट चार जना साथीले विद्यार्थी संगठनको सदस्यता लिए । दीपेश थापा, फूल लामा, सावित्री भण्डारी र सुनबहादुर घिसिङ । ‘अब स्कुल सिस्टममा आउँछ । सधैं यिनीहरूले मनपरी चल्दैन ।’ घर फर्किंदा दीपेशले आफ्नो सिन्काजस्तो हात हावामा हल्लायो ।
‘यिनीहरू त माओवादी होइनन् र ?’ मैले सोधें सानो स्वरमा । म दीपेशको सास भेटिने गरी हिँडिरहेकी थिएँ ।
‘होइन । अघि सुनिनस् ? यिनीहरू क्रान्तिकारी विद्यार्थी संगठनका हुन् ।’ दीपेश विश्वस्त थियो ।
त्यसपछि उसको व्यस्तता निकै बढेर गएको थियो । हाम्रो भेटघाट पातलियो । पछिल्लो चार महिनादेखि ऊ अनियमित थियो स्कुलमा ।
‘सुन । म उपाध्यक्ष भएँ । अहिले पाँचवटा गाविस हेर्छु । हटिया, हर्ना, आमभञ्ज्याङ, गढी र चुरियामाई ।’
ऊ कहिले क्रान्तिकारी विद्यार्थी संगठनले आयोजना गरेको जनकपुरको आमसभामा पुग्थ्यो । कहिले काठमाडौंको आमसभामा । त्यस वर्ष उसले कक्षा ९ को वार्षिक परीक्षा दिएन ।

एकपटक साँझको समयमा ऊ हाम्रो घरमा आएको थियो । चुल्हो छेउमा बसेर उसले आफ्नो दुवै हात मोलिरह्यो । निकै हतास देखिन्थ्यो ।
‘अर्को आमसभा विराटनगरमा छ । तर मलाई जान मन छैन ।’ दीपेशले भन्यो । उसको आँखा दन्दनी सल्किरहेको दाउरामा
केन्द्रित थियो ।
‘किन ?’
‘साम्देन मोक्तान मारिएछ । टाउको एकातिर । जीउ अर्कोतिर ।’
दीपेशले एकै सासमा भन्यो । आमाले हातले आफ्नो मुख छोप्नुभयो । मेरो आङबाट कम्पन छुट्यो । साम्देन मोक्तानको श्यामश्वेत अनुहार सम्झिएँ ।
‘अहिले धुइँपत्ताल मेरो खोजी भइरहेको छ रे । तर म आमा र दिदीलाई छोडेर जान चाहन्नँ ।’ अगुल्टो चलाउँदै दीपेशले भन्यो । आमाले भान्साको ढोका ढप्काउनुभयो ।
‘के तिमी माओवादी भयौ ?’ मैले सासले सोधें ।
‘हो । त्यतिखेर मैले क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिएको थिएँ । यो माओवादीकै भ्रातृ संगठन रहेछ । अहिले द्वन्द्व बढेर गएको छ । संगठन छोड्दा माओवादीबाटै कारबाहीमा पर्छु । नछोड्दा पुलिस प्रशासनको कारबाहीमा पर्छु । मेरो लागि दुवैतिर मृत्युको कुवा छ ।’
दीपेशको आँखामा भयको सर्को देखियो । ऊ त्यस रात केही नखाई निस्कियो । हुरी जसरी आयो । गयो ।

तीन महिनापछि ।
म टेस्ट परीक्षामा पास भएँ । एसएलसी तयारी गर्नु थियो । शान्ताराज सरसँग ट्युसन पढ्न जान थालेकी थिएँ हटियामा । त्यस बिहान म साढे ७ बजे घरबाट निस्किएँ । आधा बाटोमा सम्बिका भेटिई । ऊ पनि सँगै परीक्षाको तयारी गर्दै थिई । अघिपछि भन्दा निन्याउरो देखिई ।
‘ओइ । के भयो ?’
ऊ चुपचाप हिँडिरही ।
‘किन चुप छेस् ? के भयो ? भन् न ।’
उसले चुप्पी साधेको देखेर म हैरान भएँ ।
‘हिजो फापरबारीमा शाही सेना र जनमुक्ति सेनाको भिडन्तमा दीपेश मारिएछ । बाले बिहानै रेडियोमा सुन्नुभएको ...।’
सम्बिका वाक्य पूरै नगरी दौडिई बेपत्तासँग । मेरा पैताला जड भए । मानौं, मेरो मुटुको वजन एकाएक बढेको छ । त्यो छाती फुटाएर निस्कूँजस्तो गर्दै छ । त्यसपछि मैले सम्बिकालाई पछ्याइनँ । फरक्कै
फर्किएँ घरतिर ।

उत्सव रहेछ जीवन, मनाउन जाने
आँसु पनि मोती बन्छ, खसाउन जाने
कहिलेकाहीँ निर्जीव त्यो, तस्बिर अनि
मूर्ति बोल्छ
लियोनार्दोले झैं मोनालिसा बनाउन जाने

फेसबुक स्क्रोल गर्दै थिएँ । कसैले मुक्तक पोस्ट गरेको रहेछ । प्रोफाइल चेक गरें । समुद्रको तस्बिरलाई प्रोफाइल बनाएको रहेछ । नाम सागर । मकवानपुर । मैले ग्यालरी सर्च गरें । खाली थियो ।
‘हेलो, नमस्ते । म चिनीमाया मकवानपुरबाट । कहिलेकाहीं गजल लेख्छु । तपाईंको मुक्तकले मन छोयो ।’
म्यासेन्जरमा पाँच हरफ लेखिपठाएँ ।
‘ममी खाजा के छ ?’ मेरो एघारवर्षे छोरोको आवाजले म तानिएँ । ऊ स्कुलबाट आइपुगेको थियो । मोबाइल बन्द गरेर भान्सामा पसें । साँझको धन्दा सकाएर फेसबुक खोलें । म्यासेन्जरमा दुई–चारवटा नोटिफिकेसन रहेछ । सागरको रिप्लाई देखें । क्लिक गरें ।
‘हेलो । चिनीमाया । मलाई चिन्यौ ? म दीपेश । दीपेश थापा । अहिले मलेसियाबाट ।’

Page 24
कोसेली

म बेपत्ता !

- महेशविक्रम शाह

मएक दिन बेपत्ता भएँ । बेपत्ता हुनुको कुनै खास कारण छैन । कुनै समस्याले गाँजेर पनि बेपत्ता भएको होइन । रहरले पनि होइन । न कुनै त्यस्तो बाध्यता नै पर्‍यो, बेपत्ता हुनुपर्ने । मान्छे भएर जन्मे, हुर्कें । तर, मान्छे भएर बाँच्न सकस भयो मलाई । मान्छे भएर बाँच्न के गरिनँ र मैले ? सबथोक गरें । तर, अफसोस म मान्छेजस्तो मात्र देखिएँ । मान्छे नै बन्न सकिनँ । मान्छेहरूको भीडमा मेरो कुनै निश्चित बेग्लै आकृति देखिएन । मेरो अनुहारलाई मान्छेहरूले नै खोसिदिए । आफूलाई चिन्न पनि गाह्रो भयो । अनुहारविहीन मलाई रावणका जस्ता दस अनुहार भएका मान्छेको भीडले किच्न थाल्यो । ती कुरूप अनुहारको घेरामा ऐंठन भयो मलाई । बस् हराएको आफ्नो अनुहार खोज्न म
बेपत्ता भएँ ।
प्रायः मान्छेहरू बेपत्ता भएको मान्छेका बारेमा कुरा गर्दैनन् । कुरा गर्नेहरू पनि वास्तविक कुरा गर्दैनन् । काल्पनिक कुरा गर्छन् । आ–आफ्ना दृष्टिकोण, विचार, कल्पना र अनुमानका भरमा बेपत्ता हुने व्यक्तिको अवस्थाबारे तर्क, कुतर्क प्रस्तुत गर्छन् । सहानुभूति व्यक्त गर्छन् । ‘....बिचरा जे भए नि ऊ राम्रै मान्छे थियो । बेपत्तै हुनुपर्ने त होइन । के पीर परेछ ? अरूले नै बेपत्ता गरिदिएका हुन् कि... !’ बेपत्ता हुनेप्रति मान्छेहरूले खासै वास्ता गरेको पनि देखिँदैन । मान्छेहरू बेपत्ता भएको मान्छेप्रति भन्दा उसले छोडेर गएको परिवारजनप्रति बढी सद्भावपूर्ण हुन्छन् । तिनीहरूको पीडाप्रति संवेदनशील बन्छन् । र, अचम्मको कुरा कहिलेकाहीँ अपवादस्वरूप आम मान्छेहरूका हृदयमा बेपत्ता हुनेप्रति पनि करुणाको भाव जाग्छ । ‘...बिचरा कहाँ होला ? के गरिरहेको होला ? कति दुःख–हन्डर खायो होला ?’ आदि । तर, कसलाई के थाहा ? बेपत्ता हुने मान्छेको पनि आफ्नै मनमौजी दुनियाँ हुन्छ । राजा पनि आफैं... रंक पनि आफैं ।
मलाई बेपत्ता हुन मन लागेर म बेपत्ता भएँ । म बेपत्ता भएर कसैलाई पीर लाग्यो होला ! मेरो उपस्थितिप्रति निरपेक्ष व्यक्तिहरूलाई पनि मेरो अनुपस्थिति प्रीतकर नलाग्न सक्छ । मैले दुःख पाउने भएँ भनेर दुःख लाग्न सक्छ । कोही खुसी पनि भए होलान् । म बेपत्ता भएर को दुःखी भयो ? को खुसी भयो ? यो मेरो सरोकारको विषय होइन । मेरो सरोकार मसँग मात्र छ । यी परिवार र समाजका साङ्लाहरूलाई छिनालेर मैले पाएको यो स्वतन्त्रता मेरा लागि आह्लादकारी छ । यहाँ कसैका चिरपरिचित अनुहारहरू छैनन् । मैले चिन्ने मेरो आफ्नो अनुहार मात्र छ । आफैँलाई बेपत्ता बनाएर मैले पाएको मेरो नयाँ परिचय मेरा लागि रोमाञ्चक छ । कसैले सोच्नसम्म सक्दैन मेरो बेपत्तापन मलाई कति प्यारो छ !
अरूका लागि म बाँचिदिनुपर्ने । खाइदिनुपर्ने, लगाइदिनुपर्ने । पढिदिनुपर्ने । अरू खुसी भए हाँसिदिनुपर्ने । अरू दुःखी भए रोइदिनुपर्ने । सबैले सोचेजस्तो, खोजेजस्तो असल मान्छे बन्नुपर्ने । छोराछोरीका लागि सम्पत्ति जोडिदिनुपर्ने । आमाबाबुका लागि ठूलो मान्छे बनेर नाम कमाउनुपर्ने । यी सब कुरा बाहियात लाग्यो मलाई । म एक स्वतन्त्र ब्यक्ति होइन । बँधुवा हुँ । जति गर्नुपर्ने काम छन् अरूलाई रिझाउन, चित्त बुझाउन गर्नुपर्ने ! आफ्नो एक मुठी सासमाथि पनि अरूको नियन्त्रण !
अनि त मलाई आफैंले आफैंलाई बेपत्ता गरिदिन मन लाग्यो । आफैंबाट आफैंलाई हराइदिन मन लाग्यो । बेपत्ता भएर त्यो दुनियाँमा बाँच्न मन लाग्यो, जहाँ मेरो अस्तित्व हुनु र नहुनुमा कोही कसैलाई पनि फरक नपरोस् । जहाँ मेरो अस्तित्व निरपेक्ष बनोस् । मैले हाँस्नु र डाँको छोडेर रुनुमा कसैलाई कुनै मतलव नहोस् । म बौलाहाझैं अट्टहास गर्दै हाँसूँ वा बच्चाजस्तै भुइँमा लडीबुडी गर्दै कोकोहोलो गरूँ, मेरो अट्टहास र रोदनमा कसैको चासो र जिज्ञासा नहोस् । हो, म मेरो यही भावनाले वशीभूत भएर बेपत्ता भएँ ।
घर छोडेर हिँडेपछि मेरो कुनै तोकिएको गन्तव्य थिएन । मेरा अगाडि सिंगो धर्ती थियो । र, माथि खुला आकाश । मलाई कसैको आदेशमा चल्नु थिएन । न त कसैको आग्रहमा रोकिनु । न मलाई कसैले रोक्ला भन्ने पीर थियो न त कसैको आग्रहले मेरा पाइलाहरू अन्तै मोडिएलान् भन्ने सकस नै थियो । ओहो यो कस्तो अनुभूति थियो ? मानौं म भर्खर सांसारिक वस्त्र त्यागेर गेरुवस्त्रमा लपेटिएको कमण्डलुधारी जोगी बनेको थिएँ । सबै आडम्बरहरूका वस्त्रबाट मुक्त एक फकिर !
मन लागुन्जेल हिँडें म । हिँडिरहें । जीवनमा पहिलोपटक निस्फिक्री भएर कतै गइरहेको थिएँ म । भन्नेहरू भन्छन्, निरुद्देश्य मान्छे कहाँ जान सक्छ ? जो मान्छेले कहिल्यै निरुद्देश्य हिँड्ने कोसिस नै गरेको छैन, उसले कसरी जान्न सक्छ निरुद्देश्य हिँड्नु आफैंमा एक महान् उद्देश्य हो ! निरुद्देश्य कुनै सीमितता हुँदैन । त्यहाँ असंख्य विकल्प हुन्छन् । ती स्वतन्त्र विकल्पको खोजीमा नै मैले आफैं बेपत्ता हुनुको शिल्प भेट्टाएँ ।
म कहाँ जान लागेको हुँ, मलाई नै थाहा थिएन । बेपत्ता हुँदा कुनै तयारी गरेको थिइनँ । जस्तो थिएँ, त्यस्तै हिँडेको थिएँ । मेरो शरीरमा एक जोर वस्त्र थियो । खुट्टामा जुत्ता । नांगो शरीरलाई नांगिन नदिने वस्त्रलाई पनि च्यातेर फालूँजस्तो लाग्यो । जुत्तालाई समेत पर उछिट्याउन मन लाग्यो । जुन समाजलाई त्यागेर म हिँडेको थिएँ, त्यो समाजको अवशेषका रूपमा यो वस्त्र मेरो शरीरमा झुन्डिरहेको थियो । एक मनले त लुगालाई परित्याग गरेर नांगै दौडूँजस्तो लाग्यो । तर, म शिवरात्रिमा पशुपतिमा भेटिने नागाबाबाझैं निर्लज्ज भइसकेको थिइनँ । मान्छेका केही अवगुण ममा अझै विद्यमान थिए । लाज भन्ने वस्तुले मलाई निरुपाय बनाइरहेको थियो । तर, म मान्छेका यी दुर्गुणहरूबाट समेत भाग्न चाहन्थें । बेपत्ता हुन चाहन्थें ।
बाटोछेउका रूखका हाँगाहाँगाहरूमा चराहरू चिरबिरचिरबिर गरिरहेका थिए । म पनि चराजस्तै भइदिए कति जाती हुन्थ्यो ? चराका शरीरमा प्वाँखहरू छन् । मेरो शरीरमा प्वाँखहरू किन छैनन् ? मेरो शरीरमा पनि प्वाँखहरू पलाएको भए म कति स्वतन्त्र हुन्थें ! वस्त्रका बोक्राहरूले कमसेकम मेरो देहयष्टिलाई विरूप र प्रदूषित बनाउने त थिएनन् ।
थकाइ लाग्यो, चौरमा मन लागुन्जेल पल्टिएँ । कतै जान अबेर हुनेवाला थिएन । कसैले कति चौरमा सुतेको हो भनेर भन्नेवाला पनि थिएन । नजिकै नदी सुसाइरहेको थियो । नदीको कञ्चन पानीमा गोडा डुबाएर नदीका छालमा मुख जोत्दै धीत मरुन्जेल पानी खाएँ । नदीलाई हेरें । नदीको वेग देखेर नदी बन्न मन लाग्यो । अर्को मनले भन्यो ‘नदीले मेरा आकांक्षाका सीमाहरू भेट्न सक्दैन । नदी त एकतर्फी बग्छ । तर म चौतर्फी फैलिन चाहन्छु । म नदीमा अटाउन सक्दिनँ ।’ नदीमा चोबलेका गोडाहरूबाट पानी तर्काउँदै म फेरि बाटैबाटो सुसेल्दै हिँड्न थालें ।
पहाड आयो । पहाडतिर हेर्दै मैले सोचेँ— यसलाई पनि त बेपत्ता हुन मनलाग्दो हो, कति यौटै ठाउँमा कुँजिएर बसोस् ! पहाडलाई छेको बनाएर कहिले घाम बेपत्ता हुन्छ । पहाडलाई ढाल बनाएर कहिले मेघ बेपत्ता हुन्छ । पहाडलाई फेरो लाउँदै बादलका स्वरूपहरू परिवर्तन हुन्छन् । पहाडलाई साक्षी राख्दै हुस्सु र कुहिरोका फूलहरू पत्र–पत्रमा बिखरिँदै अकासिन्छन् । तर, पहाड फलामका सिक्रीले जकडिएको ज्यानमाराजस्तो अविचल, अस्थिर मुद्रामा जहाँको तहीँ ठिंग उभिएको उभियै ! उफ् ! मलाई पहाड हुन मन लागेन । यो धर्तीलाई पहाडजस्तो बोझ बन्न मन लागेन । बरु म बर्सिदिन्छु मेघ बनेर बादललाई रित्याउँदै । र, माटोभित्र हराउँछु । हुस्सुजस्तो जमिनबाट उठ्दै पहाडभन्दा माथिमाथि आकाशमा बिलाउँछु । म मान्छे कणकणमा टुक्रिन चाहन्छु । म मान्छे कणकणमा विभक्त भएर बेपत्ता हुन चाहन्छु ।
मलाई पहाड चढ्न मन लागेन । तल झरें । म फेरि हिँड्न थालें । स–साना थुम्काहरू देखिए । समथर जमिन आयो । जंगल आयो । जंगल देखेर मोहित भएँ म । किनकिन मलाई जंगल रहस्यमय लाग्छ !
जंगल आफैं हराउँदैन तर जंगलमा सबै चीज हराउँछ । जंगल आफै शून्य होइन तर जंगलभित्र महान् शून्यता छ । म जंगलभित्र पसें । मान्छेहरूको कोलाहलबाट पृथक् ! समुदायका मूल्य मान्यताहरूको बोझबाट मुक्त ! कसैका जिम्मेवारी र कसैका दायित्वबाट उन्मुक्त ! केही छजस्तो पनि, केही छैनजस्तो पनि । जंगलको गहिराइभित्र छिर्दै गएँ । मन एकतमासको भयो । जुन शून्यताको खोजीमा हराएको थिएँ म, जंगल महाशून्य लाग्यो । यो निःशब्दताले मेरो मन बेचैन भयो । मलाई जंगल आदिम मानव समाजजस्तो लाग्यो । रूखहरू मानौं ठिंग ऊभिएका आदिमानव । थरीथरीका रूखहरू, थरीथरीका मान्छेहरू । बोलिरहेका छैनन् तर साउती गरिरहेका छन् । मलाई जंगली जनावरसँग नभई रूखहरूसँग डर लाग्न थाल्यो । जुन मान्छेहरूबाट भागेर म जंगल पसेको थिएँ, यहाँ मान्छेहरू रूख बनेर मलाई वरिपरिबाट घेर्ने प्रयत्न गरिरहेका थिए । बेतोडले अघि आएको दिशातर्फ कुदें म । म सँगसँगै रूखहरू पनि कुद्न थाले । जंगलबाट भागेर कुन बेला म बाटोमा निस्केँ र जमिनमा पछारिएँ मलाई केही याद छैन ।
म उठें । फेरि हिँड्न थालें । यी नदीनाला, पहाड र जंगलबाट मलाई मोहभंग भएको थियो । बेपत्ता हुनुको यो अर्थ होइन कि म मर्न चाहन्थें । म मात्र बेपत्ता हुन चाहन्थें । उन्मुक्ति चाहन्थें । पिंजराबाट सुगा फुर्र उडेजस्तो । जलहारीको जालबाट माछो फुत्त फुत्केजस्तो । तर, प्राकृतिक दृश्यले मान्छेको बेपत्तापनका भावहरूलाई अल्झाउँदो रहेछ । प्रकृतिको सान्निध्यमा आफू मान्छे हुनुको परिचय झन् प्रखर बन्दोरहेछ । जुन परिचयबाट म वाक्कदिक्क भएर भागें, प्राकृतिक दृश्यहरूमा मेरो त्यो परिचय घामका परावर्तित किरणहरूले कोरेको तस्बिरझैं स्पष्ट र पारदर्शी हुँदोरहेछ । अन्ततः प्रकृतिबाट भागेँ म । मलाई बोध भयो, मान्छेलाई बेपत्ता हुन मान्छेहरूकै भीडमा सहज हुने रहेछ । मान्छेबाट भागेर बेपत्ता हुन नसकिने रहेछ । म फेरि मान्छेहरूकै बस्तीतिर सोझिएँ ।
हिँड्दाहिँड्दा थकाइले चुर भएँ । कसैको करकापले हिँडेको थिइनँ । आफ्नै इच्छाले बाटाहरूको लम्बाइ नापेको थिएँ । दिमागमा यो सोच आउनु नै गज्जबको अनुभूति थियो । आफ्ना गोडाहरूतिर हेर्दै मज्जाले हाँसें म । धित मरुञ्जेल हिँड्न पाएकोमा मेरा गोडाहरू पनि दंग थिए ।
मलाई गाडी चढ्न मन लाग्यो । परबाट एउटा बस हुत्तिँदै यतैतिर
आउँदै थियो ।
‘कहाँ जाने हो ?’ सोध्यो कन्डक्टरले ।
‘यो कहाँसम्म जाने हो ?’ सोधेँ मैले ।
‘बोर्डरसम्म ।’
‘म पनि त्यैं जाने हो ।’ मेरो जवाफ सुनेर किच्च हाँस्यो ऊ । मनमनै सोच्यो होला, ‘सधैं यस्तै सज्जनहरूले बसको यात्रा गरिदिऊन् ।’
मैले बसको खुला ढोकाको डन्डी समातें । हावाको तीव्र झोंकाले मेरो कपाल हल्लाइरहेको थियो । मेरो टाउकोमा उम्रेका हजारौं लामा रौंहरू मन्दिरका ध्वजापताकाहरूझैं आकाशतर्फ मुख फर्काएर फरफराइरहेका थिए । सोचें, ‘ए कपाल तैँले पनि आज खुला हावासँगै बत्तिन पाइस् ।’ शक्ति हुँदो हो त यी कपालका रौंहरू पनि शिरबाट आफ्ना जरा उखेल्दै मबाट बेपत्ता हुँदा हुन् ।
‘भित्र सिटमा बस्नुस् न । खस्नुहोला,’ कन्डक्टर बोल्यो ।
म फिस्स हाँसें । म बसबाट खसे पनि नखसे पनि कसैलाई कुनै असर पर्ने थिएन । न त म खसें भने केही गुमाउनेवाला थिएँ । बस् खसेको भए सायद स्वतन्त्रताको यात्रा यहीं टुंगिन्थ्यो । यो अपरिचित बसको अपरिचित मान्छेलाई पनि मेरो स्वतन्त्रता पचिरहेको छैन । मेरो स्वतन्त्रतामा ऊ
आफ्नो जीवनको असुरक्षा बोध गरिरहेको छ । अरूको स्वतन्त्रतामाथि घात गरेर मात्र मान्छेले आफूलाई सुरक्षित ठान्छ ।
बोर्डरको बजारमा बस रोकियो । म बसबाट ओर्लें । सबै जना लाखापाखा लागे । म भने ठिंग उभिएर टोलाइरहें । मलाई कुनै निश्चित तोकिएको ठाउँमा जानु थिएन । यता जाऊँ, उता नजाऊँ भनेर अवरोध पु‌र्‍याउने दुष्ट मान्छेहरू पनि कोही थिएनन् । जहाँ मन लाग्यो त्यहीं जान सक्थें । केही सोचेपछि म सडकको किनारैकिनार दक्षिणतर्फ हान्निएँ । म होटलमा पुगें । होटलको मालिक आफ्ना मैला हातहरूले नोट गन्दै थियो ।
‘मलाई काम चाहियो,’ मैले भनें ।
‘के काम गर्छौ ?’ उसले सोध्यो ।
‘जे काम पनि गर्छु ।’
‘भाँडा माझ्छौ ?’
‘माझ्छु ।’
‘तिम्रो नाम के हो ?’ साहुले सोध्यो ।
‘जुन नामले बोलाए नि हुन्छ । मेरो कुनै नाम छैन ।’
‘मान्छेको नाम नहुने पनि हुन्छ ?’ साहु चकित भयो ।
‘नाम भएर पनि के हुन्छ र साहुजी ? आखिर तपाईंलाई काम चाहिएको हो । कामभन्दा नाम महत्त्वपूर्ण होइन । काम भन्नुस् ।’ मेरो कुराबाट साहु प्रभावित देखियो ।
‘जुन दिन जे भनेर बोलाउन मन लाग्छ त्यै भन्छु । हुन्छ ?’ साहु दंग परिरहेको थियो ।
मैले शिर हल्लाएर भनें, ‘हुन्छ ।’
‘अनि घर कता पर्छ नि ?’ साहु फेरि आफ्नो पारामा फर्क्यो ।
‘तपाईंलाई म कहाँको जस्तो लाग्छ ?’ मैले भने ।
‘यसो जीउडाल, बोलीवचन हेर्दा त पूर्वतिरको लाग्छ त !’ साहुले मेरो शिरदेखि पैतालासम्म नापतौल गर्‍यो ।
‘हो हो त्यतैतिर हो ।’ म बेपत्ता भएको मान्छेको कुनै निश्चित ठेगाना हुने कुरा थिएन । मेरो जवाफले साहुलाई मक्ख बनायो ।
‘अनि जात के होला ?’ साहु फेरि बोल्यो ।
‘तपाईंलाई के लाग्छ म कुन जातको परें ?’
‘खोइ ठम्याउनै मुस्किल भो त ! चुच्चो नाक, चिम्सा आँखा, पुक्क परेका गाला, खैरो कपाल । छुट्याउनै गाह्रो भो त !’
‘तपाईं जे सोच्नुस् मेरो जात त्यही हो,’ मैले भनें ।
साहु खितखित हाँस्न थाल्यो ।
‘के कुरा गरेको साहुजी ? यी बाबु त नेवारजस्ता लाग्छन् । काठमाडौंबाट आएका हुन् कि !’ पसलभित्र बसेको एक ग्राहकले आफ्नो अनुमान पेस गर्‍यो ।
‘अब काठमाडौंबाट यो बोर्डरमा कोही मान्छे काम खोज्न आउला त ? कस्तो नचाइने कुरा गरेको नि !’ साहु बोल्यो ।
‘तपाईंहरू अन्यथा नलिनुहोला । मेरो कुनै एक जात छैन । जातै चाहियो भने पनि म सबै जातको मान्छे हुँ,’ मैले भनें ।
साहु छक्क परेर मलाई हेर्दै थियो ।
म पनि यस कुराले रोमाञ्चित थिएँ कि अब मेरो कुनै जात थिएन । अथवा भनौं मेरा सबै जात थिए । जसले जे सोच्यो मेरो त्यही जात । मेरो कुनै निश्चित ठेगाना पनि थिएन । जसले जहाँको सोचोस् मलाई के को टण्टा ! मेरो विचारमा त म जुन भूमिमा टेकिरहेको हुन्थें, मेरो खास ठेगाना त्यही थियो ।
होटल साहुले मलाई रातको खाना दियो र त्यसबापत जुठा भाँडाहरूको रास पनि दियो । मध्यरातसम्म आकाशका ताराहरू हेर्दै जुठा भाँडाहरू मस्काइरहें । यो दुनियाँमा यसरी अरूले छोडेका जुठा भाँडाहरू माझ्ने म एक्लो ब्यक्ति होइन भन्ने लाग्यो । यो मेरो रोजेको काम थियो । स्वतन्त्र मनले जुठा भाँडा माझ्दा आफ्नो जुत्तामा पालिस लगाएजस्तो आनन्द आउँदो रहेछ । मैले धोएका भाँडाहरूको टलक जूनको टहटहभन्दा कम थिएन । जूनको उज्यालो जति तिख्खर भए पनि ताराहरू चम्किन छोड्दैनन् ।
मिर्मिरेमै उठें । बाहिर सडकमा भुस्याहा कुकुरहरू स्ट्रिट फाइट गरिरहेका थिए । यी कुकुरहरू भुस्याहा कसरी भए ? कुनै घरको पाल्तु नभएकाले भुस्याहा भए । छाडा भए । मैले पनि त घर र समाजको पाल्तु बन्न अस्वीकार गरें । सायद म पनि भुस्याहा भएँ । यो संसारमा आफ्नो मनले जिन्दगी जिउन चाहने प्राणीहरू भुस्याहा नै ठहरिन्छन् सायद !
मैले साहुको होटेल छोडें । म मान्छे भुस्याहा, कुकुर भुस्याहाको वर्गसँग एकाकार भएँ । आफ्नै वर्गको भुस्याहा मान्छेको साथ पाएपछि भुस्याहा कुकुरहरू पनि मान्छे बन्ने भ्रम पाल्दा रहेछन् । भुस्याहा कुकुरहरू ङ्यार–ङुर गरिरहेका थिए । मलाई देखेपछि सुरुमा त्रसित हुँदै पुच्छर खुट्टामुनि लुकाएर कुदे । मैले ओठ गोलो पारेर सिट्टी बजाएँ । हातले इसारा गर्दै भने, ‘यहाँ मसँग आऊ । म दुईखुट्टे भए पनि तिमीहरू चारखुट्टेसँग मिल्न सक्ने भुस्याहा हुँ ।’ कुकुरहरूले टाउको ठाडो पारेर मेरो अनुहारतिर हेर्दै परख गरे, ‘के यो साँच्चै भुस्याहा नै हो त !’
तिनीहरूले मेरो भुस्याहापनप्रति विश्वास गरे । आफ्नो पुच्छर हल्लाउँदै मेरा खुट्टाहरूमा लुटुपुटु गर्न थाले । मैले एकएक गरी तिनीहरूलाई अँगालोमा बेरें । तिनीहरूले मेरो अनुहारमा मायालु चुम्बनको वर्षा गरे । जीवनमा एकैपटक यति धेरै चुम्बन कसैले गरेको थिएन । बेपत्ता हुनुको यो एक मौलिक अनुभव थियो । कुकुरहरूसँग बात मार्दै म सडकमा हिँड्न थालें । बिस्तारै कुकुरहरू पनि छुट्दै गए । जिन्दगीमा सधैं एकनासले कसैले कसैलाई साथ दिंदो रहेनछ ।
म हिँड्दै गएँ । सीमामा पुगेपछि पुलिसले मलाई रोक्यो ।
‘कहाँ जान लागेको हो ?’
‘बेपत्ता हुन ।’
‘को बेपत्ता ? किन ? कसरी ?’
‘म आफैं बेपत्ता हुने ।’
‘तिम्रो पता के हो ?’
‘थाहा छैन ।’
‘आफ्नो पता पनि थाहा छैन ?’
‘छैन । केही थाहा छैन ।’
‘पता छैन के को बेपत्ता ?,’ पुलिस हाँस्न थाल्यो ।
पुलिसले गज्जब कुरा गरेको थियो । मेरो पता छैन । के को बेपत्ता ? पता हुने मान्छे पो बेपत्ता हुन्छ त !!
‘आईडी छ ?’
‘छैन ।’
‘नागरिकता ?’
‘त्यो पनि छैन ।’
‘शैक्षिक प्रमाणपत्र ?’
‘अहँ छैन ।’
‘पालिकाको सिफारिस ?’
‘अहँ त्यो नि छैन ।’
‘अरू कागजात ? नाम, थर, वतन खुलेको ?’
‘केही पनि छैन ।’
‘पहिला पता लिएर आउनू । त्यसपछि बेपत्ता हुनू । पता नभएर नि मान्छे कहीं बेपत्ता हुन्छ ?’
पुलिसले मलाई बोर्डर पार गर्न दिएन ।
यो देशले मेरो व्यथा किन बुझ्दैन ? मेरो पता भएको भए किन मलाई बेपत्ता हुनुपर्थ्यो ?