'कनेक्टिभिटीले प्रचुर सम्भावना'
(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीले स्थल, जल र हवाई तीनवटै माध्यमबाट नेपालको विश्वमा कनेक्टिभिटी (सम्पर्क सञ्जाल) बढ्ने क्रममा रहेको र यसले विकास तथा समृद्धिमा अत्यधिक सम्भावना ल्याउने बताएका छन् । विशेषगरी चीन र भारतसँगको कनेक्टिभिटीले प्रचुर सम्भावनाको आधार तयार गर्ने उनले उल्लेख गरे । ‘त्यसैले दुवै मुलुकसँगको कनेक्टिभिटीलाई सरकारले महत्त्व दिएर काम गरिरहेको छ,’ कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणमा शुक्रबार उद्घाटन मतव्य राख्दै उनले भने, ‘नेपाल भूपरिवेष्टित मुलुक भए पनि अब छिट्टै जलमार्गबाट समेत विश्वसँग जोडिनेछ ।’
प्रधानमन्त्री ओलीले भारतसँग ‘मल्टिमोडल कनेक्टिभिटी’ र चीनसँग ‘ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी’ आवश्यक रहेको बताए । छिमेकी मुलुकहरूको मुख्य सरोकार नै कनेक्टिभिटी रहेको उनको भनाइ थियो । ‘कुनै समय सुदूरका सपना ठानिने कुरा चाँडै वास्तविकतामा रूपान्तरित हुँदैछन्,’ उनले भने ।
प्रधानमन्त्री भएदेखि नै महत्त्वाकांक्षी योजनाहरू अघि सार्दै आएका ओलीले आफूले देखेका सपना अहिले कार्यान्वयनमा जान थालेको आशय मतव्यमा प्रकट गरे । जलमार्गबाट जोडिने आधार तल्लो तहमा बन्दै गएको उल्लेख गरे । नदीहरूबाट हुने सम्पर्कले जनजीवन सहज हुने र ढुवानीमा कम लागत लाग्ने अवस्था आएको ओलीले दाबी गरे । ‘भूपरिवेष्टित नेपाल ठूला पानीजहाजमा हाम्रो झन्डा फहराउँदै जलमार्गबाट जोडिँदै छ,’ उनले भने, ‘मोटरबोटहरू रमाइलोका लागि मात्रै होइनन्, अब तिनले पर्यटन विकासमा पनि टेवा दिनेछन् ।’
झन्डै २५ मिनेट लामो सम्बोधनमा ओलीले विगतदेखि नै उठाउँदै आएको रेलको प्रसंग छुटाएनन् । नेपालमा रेल ल्याउने कुरालाई निरन्तर जोड दिँदै आएका उनले दुवै छिमेकी मुलुकसँग नेपाल रेलका माध्यमबाट पनि जोडिने र यसले नेपालको यातायात क्षेत्रमा क्रान्ति ल्याउने बताए । त्यसले नेपालको अर्थतन्त्रलाई उकास्ने पनि उनले उल्लेख गरे । ‘रेलमार्गले नेपाललाई भूजडित मुलुक बनाउने छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता उत्साही खालका धेरै परिणाम अहिले देखिएका छन् ।’
प्रधानमन्त्री ओलीले दुई वर्षअघि नेतृत्व सम्हाल्दै गर्दा जनताले गरेको विश्वासलाई जिम्मेवारीपूर्वक ख्याल गर्दै विकासको यात्रालाई नेतृत्व प्रदान गरेको दाबी गरे । ‘मेरो कार्यकालको मध्यतिर आइपुग्दा हामीले मुलुकमा सकारात्मक ऊर्जा सञ्चार गर्न सफल भएका छौं,’ उनले भने, ‘हामीले विकासका लागि राम्रो जग पनि खडा गरेका छौं । हाम्रो मुलुकले सही ट्र्याक समातेको छ ।’ उनले विकासको नमुनाका रूपमा अघि बढेका केही परियोजना उदाहरणका रूपमा पेस गरे । ‘भैरहवा र पोखरा विमानस्थल चाँडै सम्पन्न हुँदैछन् । ती विमानस्थल हवाई कनेक्टिभिटीका लागि ‘गेमचेन्जर’ बन्नेछन्,’ उनले भने, ‘अन्तरदेशीय प्रसारण लाइन मुख्य प्राथमिकतामा छ । यसले दुईपक्षीय र क्षेत्रीय ऊर्जा व्यापारको उज्ज्वल भविष्य देखाएको छ ।’
प्रधानमन्त्री ओलीले लामो समयको राजनीतिक संक्रमणकाल पश्चात् पछिल्ला दुई वर्षमा नेपालमा राजनीतिक विषय छाडेर विकास, रोजगार र सार्वजनिक हितबारे बहस हुन थाल्नु सकारात्मक भएको बताए ।
‘आर्थिक विकासको बहस अहिले प्राथमिकतामा परेको छ । अनिश्चितता र भ्रम इतिहासका विषय बनेका छन् । नीतिमा स्थायित्व, निश्चितता र स्थिरताले विश्वसनीयता बढाएको छ,’ उनले भने ।
ओलीले सरकारले लिएको आर्थिक नीतिले उत्साहजनक नतिजा दिन थालेको दाबी गरे । ‘निजी क्षेत्र, उद्यमीहरू हाम्रा सहयात्राका मुख्य नायक हुन्,’ उनले भने, ‘त्यसैले सरकार शान्ति सुव्यवस्था कायम गर्न र उपयुक्त स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न
जिम्मेवार छ ।’
आफ्नो सरकारले सुरुवाती दिनमा कार्टेल र सिन्डिकेट पहिचान गरी त्यसविरुद्ध काम गरेकाले निजी क्षेत्रमा व्यावसायिक प्रतिस्पर्धा बढेको र जनताले गुणस्तरीय सेवा प्राप्त गर्न थालेको ओलीको दाबी थियो । त्यसको गुन निजी क्षेत्रले पनि सरकारलाई तिर्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि रहेको दाबी गरे । ‘यसअघि दीर्घकालीन भिजनसहित आएका कम्पनीहरूले पाएको उच्च प्रतिफल यसको उदाहरण हो,’ उनले भने, ‘मेरो सरकार कुनै पनि क्षेत्रमा आउने नयाँ लगानीकर्ता र स्टार्टअपलाई समन्वय गर्ने प्रतिबद्धता गर्छ ।’ नयाँ लगानीकर्तालाई सहज होस् भनेर कम्पनी दर्तालगायत काममा एकद्वार प्रणाली लागू गरिएको जानकारी उनले दिए । आगामी दिनमा भुक्तानी प्रक्रियाको सहजताका लागि ‘ई–पेमेन्ट’ सेवालाई विस्तार गर्ने ओलीले बताए । भ्रमण वर्ष २०२० ले केही संख्यामा पर्यटक बढाउने मात्र नभई पर्यटकीय पूर्वाधार र पर्यटनस्थलको विकाससमेत गर्ने उनले दाबी गरे । नेपालले अंगीकार गरेको आर्थिक नीतिले उत्साहजनक नतिजा दिन थालेको प्रधानमन्त्रीको दाबी थियो । ‘तथ्यांक आफ्नै ठाउँमा होला तर महत्त्वपूर्ण कुरा विकास हाम्रै पालामा सम्भव छ भन्ने विश्वास सबैमा जागेको छ,’ उनले भने । उनले तीन वर्षदेखि आर्थिक वृद्धि ६ प्रतिशतभन्दा माथि रहेको पनि उल्लेख गरे ।
आफू निर्वाचित भएको दिनबाट स्पष्ट रूपमा ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्दै आएको सम्झाउँदै ओलीले हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गाकाण्डमा १७५ जनाविरुद्ध दर्ता गरेको मुद्दाको प्रसंग पनि उठाए । ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय प्रतिबद्धताको मात्रा कति छ भन्ने १७५ जनालाई मुद्दा दर्ता गर्ने अख्तियारको हालैको निर्णयले बोल्छ,’ उनले भने, ‘हालैको अन्तर्राष्ट्रिय प्रतिवेदन (भ्रष्टाचारसम्बन्धी) मा नेपालको सूची सुधारिँदै गएको देखिएकाले म उत्साही बनेको छु । यो मोर्चामा अझै निकै अघि बढ्नु छ भन्नेमा सचेत छु ।’
प्रधानमन्त्री ओलीले केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा विकासको काम अघि बढिरहेको सुनाए । मुलुकको निर्णायक भूमिका र विकासको मुद्दा अब केन्द्रको नीतिमा मात्रै भर पर्नु नपर्ने उनको भनाइ थियो । उनले युवामा विकसित क्षमता, जोस, नवीनतम सोच र जाँगरलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताको हरफ ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ सँग दाँजे । ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने सपना देख्नुपर्छ भन्ने सुझाव दिनुभएको थियो,’ उनले भने, ‘हाम्रा युवाले चन्द्रमा टाढा छैन भन्ने प्रमाणित गर्न थालेका छन् ।’ नेपाली युवा वैज्ञानिकहरूले नेपालको स्याटेलाइट बनाएर अन्तरिक्षमा पुर्याएको कुरालाई चन्द्रमा छुने सपनाको एउटा अंशका रूपमा उनले व्याख्या गरे । उनले विदेशमा रहेका दक्ष जनशक्तिलाई फर्काउने प्रयास भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले ‘तुइन मुक्त’ गराउने आफ्नो योजनालाई कन्क्लेभको मञ्चमा पनि सुनाउन छुटाएनन् । उनले मुलुकबाट तुइन विस्थापित गर्ने योजना पूरा हुन लागेको जानकारी दिए । भूकम्पका कारण भत्किएका भौतिक संरचना र विश्वास अहिले जागृत भइसकेको उनको भनाइ थियो । ‘पुनर्निर्माणका लागि सुरुवातका वर्षहरूमा राजनीतिक अवस्था राम्रो थिएन तर पछिल्ला दुई वर्षमा त्यस्तो छैन,’ उनले भने, ‘निजी घर पुनर्निर्माण भएका छन्, सार्वजनिक सम्पत्ति पुनःस्थापना भएका छन्, सांस्कृतिक सम्पदा तयार भइरहेका छन् । एक वर्षमा सहरको मुटुमा धरहरा खडा हुनेछ ।’
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका र उपस्थिति राम्रो बन्दै गएको र सकारात्मक स्थिति पैदा भएको उल्लेख गरे । चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमण र त्यसबाट दुईपक्षीय सम्बन्धमा भएको विस्तार र खोलेको सम्भावनाका ढोकाबारे पनि प्रधानमन्त्री ओलीले बोलेका थिए ।
त्यसअघि कन्क्लेभका अतिथि तथा सहभागीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले स्वागत गरेका थिए । त्यसक्रममा उनले सार्वजनिक बहसका लागि नयाँ मञ्च तयार गर्न कन्क्लेभ आयोजना गरिएको उल्लेख गर्दै यहाँ आएका विचारले मुलुक र समाजमा स्वस्थ वातावरण निर्माणमा टेवा दिने विश्वास व्यक्त गरे ।

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)























