You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
गृह पृष्ठ

स्वयंसेवामा पनि अवरोध !

- कलेन्द्र सेजुवाल

(सुर्खेत) - नीय प्रशासनको अनुरोधमा सत्याग्रह एक साता पर सारेपछि डा. गोविन्द केसी शुक्रबार बिहानै जुम्ला सदरमुकाम खलंगा बजारबाट गाउँतिर लागे । गुठीचौर गाउँपालिकाको स्वास्थ्यचौकीमा पुगेर स्थानीय स्वास्थ्यकर्मीसँग भलाकुसारी गर्दै थिए । बिहान १०ः३० बजेतिर हातको औंला काटिएकी एक महिला आइन् । हाडजोर्नी विशेषज्ञ डा. केसी उनको उपचारमा अघि सरे । तर, स्वास्थ्यचौकी इन्चार्जले उनलाई रोक्दै भने, ‘हजुरलाई उपचार गर्न नदिनु भन्ने प्रमुख प्रशासकीय सरको आदेश छ, हामीलाई अप्ठेरो नपारिदिनुहोला ।’
सेवानिवृत्त भएपछि फागुनमा काठमाडौं छाडेका डा. केसी दुई महिनादेखि कर्णालीका ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका छन् । यस क्रममा उनलाई बिरामीको उपचार गर्न नदिइएको यो पहिलो घटना होइन । यसअघि साउन १४ गते डोल्पाको जगदुल्ला गाउँपालिका–६, रिमीमा पनि गाउँपालिका अध्यक्ष नरासिंह रोकाया र वडाध्यक्ष भक्तबहादुर बुढाथोकीले काम गर्न रोकेका थिए । ‘म यहाँ (कर्णालीमा) राजनीति गर्न आएको होइन, आफूले आर्जेको अनुभव र ज्ञान बाँड्न आएको हुँ, अलिकति भए पनि जनताले सेवा पाऊन् भन्ने मेरो सोच हो,’ उनले भने, ‘तर जनताका प्रतिनिधि भन्नेहरू नै जनतालाई सेवा पाउनबाट वञ्चित गरिरहेका छन् ।’
आफूलाई काम गर्न रोक्ने वडाध्यक्ष बुढाथोकीकी श्रीमतीले नै लुकीछिपी आएर आफूसँग सेवा लिएको घटनाले निकै पीडा दिएको उनले बताए । यसले स्थानीय तहका जनप्रतिनिधि पनि कसैको इसारामा वा आफैं जानीनजानी परिचालित भइरहेका उनको भनाइ छ ।
डा. केसीले गाउँमा मात्र होइन, खलंगामै समेत अस्पताल गएर सेवा गर्न पाइरहेका छैनन् । उनको पूर्वनिर्धारित सत्याग्रह रोक्न बिहीबार बिहानै जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र जिल्ला प्रहरी प्रमुख डीएसपी लालबहादुर धामी उनी बसेको होटल रोयल गार्डेनमा पुगेका थिए । वार्ताका क्रममा डा. केसीले सत्याग्रह एक साता पर सारेपछि प्रमुख जिल्ला अधिकारी र डीएसपी आ–आफ्नो कार्यालयतिर फर्किए । डा. केसीनजिकैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण) अस्पतालतिर जान खोजे । तर, होटलको गेटमै रहेको प्रहरीले ‘माथिको आदेश’ भन्दै निस्किन दिएन । दिउँसो ३ बजेतिर फेरि उनी अस्पतालतिर जान खोजे । उही व्यवहार दोहोरियो । ‘मलाई रोक्नुको लिखित कारण मागें तर उनीहरूले माथिको आदेश भन्दै रोक्ने काम मात्र गरे,’ उनले भने, ‘त्यसपछि त निषेधाज्ञा भन्दै रोक्ने बहाना बनाए, जब कि अहिले पनि खलंगा बजारमा गाडी गुडिरहेका छन्, पसल चलिरहेका छन्, मान्छे पनि हिँडिरहेका छन् ।’
पछिल्लो समय डा. केसीले जुम्ला, हुम्ला, कालीकोट, मुगु र डोल्पाका ग्रामीण क्षेत्रमा गएर बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्ने, स्थानीय स्वास्थ्यकर्मीलाई हाडजोर्नीसम्बन्धी सीप सिकाउने काम गरिरहेका छन् ।

उनको अर्को उद्देश्यचाहिँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापनका लागि सरकारलाई दबाब दिनु हो । यो मागसहित मेडिकल शिक्षा सुधार लागि उनले २०७५ असार तेस्रो साता जुम्लामै सत्याग्रह थालेका थिए । सरकारले साउन ३ गते जबर्जस्ती उठाएर हेलिकप्टरमा काठमाडौं पुर्‍याएको थियो । सो क्रममा प्रहरी र उनका समर्थकबीच झडप हुँदा गोली चल्नुका साथै प्रतिष्ठानको शिक्षण अस्पतालमा भौतिक क्षति भएको थियो । ‘काठमाडौंमा हामी र सरकारबीच मेडिकल शिक्षा सुधारका लागि सम्झौता त भयो, तर अहिलेसम्म सम्झौता कार्यान्वयन भएको छैन,’ उनले भने, ‘त्यसैले म दुई वर्षअघिको त्यही सम्झौता कार्यान्वयन गराउन जुम्ला पुगेको हुँ ।’
डा. केसीले सत्याग्रहका लागि मुख्य ४ वटा माग राखेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुका साथै विश्वविद्यालय, काउन्सिल तथा प्रतिष्ठानमा निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानुनी व्यवस्था गरिनुपर्ने र अछामको बयालपाटा अस्पताललाई नियमित बजेट प्रबन्ध गरी दिगो निःशुल्क सेवा सुनिश्चित गरिनुपर्ने माग रहेका छन् । यिनै मागसहित जुम्ला पुगेर उनले साउन ११ गते एक साता अल्टिमेटम दिएका थिए । तीन सातासम्म पनि माग सुनुवाइ नभएपछि साउन ३२ गते १० दिने अल्टिमेटम दिए । ‘मैले यहाँको सीडीओलाई (बिहीबारदेखि) एक साता समय दिएको छु, त्यसपछि पनि बेवास्ता भयो भने मेरो आन्दोलनमा अवरोध नगर्नु भनेको छु,’ उनले भने, ‘तर सरकार सजिलै पूरा गर्न सकिने माग सुन्नुको साटो मुढेबल प्रयोग गरिरहेको छ, त्यही संस्कार गाउँमै पुगेको देख्दा अचम्म लागेको छ ।’

समर्थकलाई धम्की
डा. केसीको अभियानलाई कर्णालीमा थुप्रै चिकित्सक, स्वास्थ्यकर्मी र नागरिक समाजका प्रतिनिधिले साथ दिएका छन् । उनले पढाएका चिकित्सकसमेत कर्णालीका अस्पतालहरूमा कार्यरत छन् । डा. केसीले अहिले आफूलाई मात्र नभई, आफ्ना समर्थकलाई समेत सरकारले दुःख दिन थालेको बताएका छन् । उनका अनुसार २ वर्षअघिको झडपको घटनालाई लिएर प्रहरीले अहिले उनीहरूको घरमै गएर मुद्दा लगाउने धम्की दिने गरेको छ । ‘सरकारले मेरो अभियानमा हिँड्नेलाई कारबाही गर्ने अलिखित उर्दी नै जारी गरेको छ,’ उनले भने, ‘तर मेरो अयिभान डर–त्रासले रोकिनेवाला छैन ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकले डा. केसीले कर्णालीका जनताको स्वास्थ्य र यहाँको चिकित्सा–शिक्षाको स्तरोन्नतिका लागि अभियान थाले पनि सरकारी रबैयाका कारण उनलाई खुलेर साथ दिन गाह्रो भइरहेको बताए । ‘उहाँको आफ्नो कुनै स्वार्थ छैन, राज्यसँग राजनीति पनि गर्नुभएको छैन,’ उनले भने, ‘सरकारले भने ठूलो दुश्मनझैं व्यवहार गरिरहेको छ, स्वतन्त्रपूर्वक हिँड्नसमेत रोक लगाएको छ ।’

ॅकर्णालीलाई बन्धक बनाइयो’
डा. केसी चिकित्सा–शिक्षाका लागि सबैभन्दा उपयुक्त थलो कर्णाली रहेकाले पनि आफूले बारम्बार एमबीबीएस/एमडीको अध्ययन सुरु गर्न दबाब दिएको बताउँछन् । नक्कली बिरामी र ‘खडेबाबा’ का भरमा स्थापना गरिएका माफियाका मेडिकल कलेजलाई चिकित्सा शिक्षाको अनुमति दिने सरकारले कर्णालीलाई भने हेला गरेको उनको भनाइ छ । करिब एक दशकअघि जुम्लामा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर एमबीबीएस पढाइ सुरु गर्नुको साटो यसलाई शिक्षण अस्पतालमै सीमित राखेको उनले बताए । ‘यसबीच माफियाका थुप्रै कलेजले एमबीबीएस पढाउने अनुमति पाए, सरकारले प्रतिष्ठान (कर्णाली) को आवाज भने कहिल्यै सुन्न चाहेन,’ उनले भने, ‘कर्णालीलाई सरकारले बन्धक बनाएर राखेको छ, अहिले त्यसविरुद्ध बोल्ने मेरो मुख पनि बन्द गर्न खोजिँदै छ ।’ दुई वर्षअघि नै प्रतिष्ठानमा एमडी (स्नातकोत्तर तह) को अध्यापन अनुमति दिने सम्झौता भए पनि रोकिराखिएको उनले बताए ।

१२ जिल्लामा एकल यात्रा
फागुन सुरुमा काठमाडौं छाडेका डा. केसी सुदूरपश्चिमका ७ पहाडी जिल्लाको ‘स्वयंसेवा’ भ्रमणपछि कर्णाली आइपुगेका हुन् । असार पहिलो साता बाजुराबाट हुम्लाको ताजाकोट पुगेका डा. गोविन्द केसीले हुम्लाका साथै मुगु, जुम्ला, कालीकोट र डोल्पामा स्थानीयको स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए । ‘हुम्लामा त यसअघि पनि तीनपटक गइसकेको थिएँ,’ उनले भने, ‘यसपटक फेरि जाँदा पुराना बिरामीलाई भेट्ने मौका पाएँ, स्वास्थ्यकर्मी साथीहरूलाई आफ्नो ज्ञान पनि बाँडे ।’ एक वर्षअघि ताजाकोट जाँदा उनले स्थानीय स्वास्थ्यचौकीमा केही स्वास्थ्य सामग्री छाडेका थिए । यसपटकको शिविरमा पनि ती सामग्री प्रयोगमा आए । हात भाँचिएर घरेलु उपचार गरिरहेकी ताजाकोट, मैलाकी दूधकला शाहीको हातमा डा. केसीले काम्रो लगाएपछि उनले खुसी हुँदै स्थानीय स्वाथ्यकर्मीसँग भनेकी थिइन्, ‘मेरो हात भाग्यवानी रहेछ, घरमै ठूला डाक्टर आएर सोझो बनाइदिए ।’
हुम्लापछि उनी साउन पहिलो साता कालीकोट पुगे । त्यहाँको जिल्ला अस्पतालमा उनले ४४ जना बिरामीको स्वास्थ्य उपचार गरे । तीमध्येकी एक थिइन्, खाँडाचक्र नगरपालिका–१०, चौकीगाउँकी ५० वर्षीया केलसरा शाही । कात्तिकमा भएको जिप दुर्घटनामा खुट्टा भाँचिँदा नेपालगन्ज गएर खुट्टामा रड हालेकी उनले आर्थिक अभावमा रड झिक्न सकेकी थिइनन् । हाडजोर्नी विशेषज्ञ डा. केसी जिल्लामै पुगेपछि उनले नेपालगन्ज धाउनु परेन । त्यही शिविरमा ३ महिनाअघि खुट्टा भाँचिएका दैलेख, बिन्दासैनीका ३ वर्षीय बालक पनि पुगेका थिए । आमा निर्मलाको भनाइ थियो, ‘खुट्टा भाँचिएपछि जुम्ला लानुपर्ला भनेका थियौं, लकडाउन भयो, अहिले ठूला डाक्टर यहीँ आएपछि देखायौं ।’ कालीकोटबाट जुम्ला पुगेका उनी साउन दोस्रो साता डोल्पा गए । त्यहाँको जगदुल्ला गाउँपालिकामा केही बिरामीको स्वास्थ्य उपचार गरेपछि गाउँपालिकाले अवरोध गर्‍यो । त्यसपछि साउन तेस्रो साता फेरि जुम्ला हुँदै मुगु गए । त्यहाँको जिल्ला अस्पतालमा १ सय ७७ जना हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरे ।
डा. केसी पछिल्ला करिब ६ महिना लामो स्वयंसेवारूपी यात्रा एक्लै तय गरे । कोरोना प्रकोप र सरकारी रबैयाका कारण निकै दुःख पनि पाए । तर उनी यसलाई सामान्य रूपमा लिन्छन् । ‘किन रोइस् मंगले आफ्नै ढंगले भनेजस्तै हो, यो सबै म आफैंले आफ्नो लागि आर्जेको दुःख हो,’ उनले भने, ‘त्यसैले मैले यस्ता दुःखकष्टभित्र पनि सन्तुष्टि भेट्ने गरेको छु ।’ कोरोनाका कारण कतिपय ठाउँमा त बास र खानासमेत नपाइएको उनले बताए । यो यात्रामा यस्ता क्षण थुप्रै छन् । कोरोना प्रकोपमा जनतालाई सचेतभन्दा त्रसित बनाउँदा यस्तो अवस्था आएको उनको भनाइ छ । ‘कतिपय ठाउँमा त मान्छेले मलाई पानी माग्दासमेत दिएनन्, बरु तिनै मान्छे मास्क नलगाएर मज्जासँग समूहमा बसिरहेका थिए, सामान्य सावधानी पनि थिएन,’ उनले भने, ‘मान्छेमा त्रास थियो, तर सावधानी थिएन ।’

गृह पृष्ठ

एक दिनका संक्रमितमध्ये उपत्यकामै ४५ प्रतिशत

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मुलुकमा शुक्रबार कोरोना पुष्टि भएकामध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकाका छन् । देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा पुष्टि भएको हो, जुन कुल संक्रमितको ४४.७६ प्रतिशत हो ।
केही दिनअघि दैनिक देखिने संक्रमितमध्ये एक तिहाइ उपत्यकाका थिए । पछिल्ला दिन बढ्दै गएको
छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १०७ महिला र २४३ पुरुष गरेर ३५० जनामा शुक्रबार कोभिड संक्रमण देखिएको हो । यस्तै ललितपुरमा ४ महिला र ७ पुरुष गरी ११ जनामा र भक्तपुरमा २४ महिला र ३० पुरुष गरी ५४ जनामा संक्रमण देखिएको हो । विज्ञहरूले उपत्यकामा संक्रमण तीव्र देखिएको र आगामी दिनमा झन् बढ्न सक्ने बताएका छन् ।

‘अहिले स्थानीयमै बढी संक्रमण देखिन थालेको छ, धेरैजसो संक्रमितको यात्रा इतिहास छैन,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने ।
५० लाखभन्दा बढी जनसंख्या उपत्यकामै भएकाले जनघनत्वको हिसाबले काठमाडौंमा कोरोनाको जोखिम उच्च छ । ‘काठमाडौंमा यहीं रहेकाहरूले संक्रमण सार्न थालेका छन् र यो गति बढ्दो छ’ महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले भने । काठमाडौं उपत्यकामा दिनहुँ चार सय हाराहारी संक्रमित देखिन थालेका छन् । एक साताअघि ३००/३५० हाराहारी संक्रमित हुन्थे भने त्योभन्दा अघि अझै कम थियो । ‘यही दर रह्यो भने आइतबारसम्म दिनहुँ ५५० देखि ६०० संक्रमित देखिन सक्छन्,’ कोइरालाले भने, ‘आगामी सातादेखि मुलुकमा दिनहुँ देखिने कुल संक्रमितको ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा देखिने छन् ।’
भक्तपुरमा शुक्रबार १४ जनाको पूरै परिवारलाई नै कोभिड संक्रमण देखिएको उल्लेख गर्दै उनले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैंकका कर्मचारीलगायत मा संक्रमण बढी देखिएको बताए । देशभरिमा शुक्रबार देखिएका कुल संक्रमितमध्ये ३६ प्रतिशत महिला छन् । काठमाडौं उपत्यकामा शुक्रबार देखिएका कुल संक्रमितमध्ये ३२.५३ प्रतिशत महिला छन् ।

गृह पृष्ठ

जसको प्रेरणाले संक्रमण बिर्साउँछ

- गोकर्ण गौतम

(काठमाडौं) - १८ पुस ०६७
रामबहादुर गोलेका लागि अविस्मरणीय दिन । आफ्नो आधा शरीर मरेतुल्य भएको ‘अँध्यारो’ दिन बिर्सनु पनि कसरी !
सिन्धुपाल्चोक बसेलीका गोले भक्तपुर थिमिमा बस्थे । के सुर चल्यो कुन्नि, साथीहरूसँग खासा घुम्न निस्किए । फुरुङ्ग परेर
फर्कंदै थिए, चौवन्न किलोमा उनी चढेको बस दुर्घटना भयो । हट्टाकट्टा गोलेको कम्मरमुनिको भाग मृततुल्य भयो । पोले नदुख्ने, काटे–घोचे पनि नदुख्ने । स्पाइनल कर्ड इन्जुरीबाट प्रताडित भएछन् ।
जीवन त्यहीँ सकियो जस्तो लागेको थियो तर कहाँ सकिन्थ्यो र ! आत्महत्याको प्रयास पनि गरे । तर, अहिले त्यो दुर्घटनालाई अभिशाप होइन, ‘वरदान’ मान्छन् । किन ? यो कथा पछि भनुँला ।

अब उनको जीवनमा आइपरेको अर्को ‘बज्रपात’ को कुरा गरौं ।

९ भदौ ०७७
यो दिन पनि रामले कहिल्यै बिर्सने छैनन् । आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको दिन ।
आधा शरीर नचल्ने हुँदा २८ वर्षका थिए, ३८ वर्षमा कोरोना संक्रमित भए ।
अघिल्लो शनिबार उनकी पत्नी सानुमाया तामाङलाई कोरोना पोजिटिभ देखिएको थियो । दुवै काभ्रे साँगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा काम गर्छन् । गोले यस केन्द्रको मातहतमा चल्ने भ्वाइस सेन्टर दौंतरी परामर्शदाता हुन् भने सानुमाया हाउसकिपर । बिहान ९ बजे अफिस आउने, ५ बजे नजिकैको घरमा जाने गर्थे । बाहिर कतै निस्किएका थिएनन्, कसरी–कसरी भाइरसले भेटेछ । अहिले केन्द्रकै आइसोलेसनमा छन् । आफ्नो पहिचान खुलाउन अनुमति दिँदै शुक्रबार रामले कान्तिपुरसँग भने, ‘हामी दुवै एकदमै ठीक छौं । साधारण रुघाखोकीजस्तो पनि भएको छैन । दुखाइ केही छैन । बाहिर त्रास मात्र बढी फैलिरहेको जस्तो लाग्यो ।’ सतुवा, गुर्जो, जिरा, ज्वानो र बेसार पानी खाइरहेको उनले बताए । खानाचाहिँ बाहिरबाट केन्द्रले नै उपलब्ध गराउँछ ।
केन्द्रमा यतिबेला बिरामी, कुरुवा, स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी ३३ जना संक्रमित आइसोलेसनमा छन्, कर्मचारीमध्ये ह्विलचेयर प्रयोगकर्ताचाहिँ गोले मात्र हुन् । उनकै नजिकैचाहिँ ७ जना संक्रमित छन् । ‘म आउनुभन्दा अगाडि यहाँ अरू साथीहरू रोइरहनुभएको रहेछ । म आएपछि नियमित योग र म्युजिक थेरापी गरिरहेका छौं,’ उनले मुस्कुराउँदै भने, ‘अहिले हामी सबै हाँसी–खुसी बसिरहेका छौं । मरिएला भन्ने डर कसैलाई छैन ।’
सबै जना सबेरै उठ्छन्, गोलेले अनुलोमविलोम र कपालभाँती लगायतका श्वासप्रश्वाससम्बन्धी योग गराउँछन् । अरूले अन्य शारीरिक अभ्यास गर्छन् । त्यसपछि उनले उत्प्रेरणा र आशा जगाउने कुराकानी गर्छन् । साँझमा ठूलो स्वरमा गीत घन्काएर सबै नाच्छन्, गोले ह्विलचेयरबाट हात र कुम हल्लाउँछन् । त्यसपछि फेरि जीवन–उपयोगी बातचित हुन्छ । ‘हाम्रा लागि यही नै उपचार भइरहेको छ, सचेत भएर बस्छौं तर बेलाबेला संक्रमित हौं भन्ने नै भुल्छौं,’ उनले सुखद भोगाइ बाँडे । ज्यान आधा नचल्ने हुँदा पनि उनमा भरिएको आत्मविश्वासले
अन्य सांग संक्रमितलाई ऊर्जा नमिल्ने कुरै भएन !
तर गोलेको मन आत्तिएको पनि छ । आफू र पत्नी होइन, छोराछोरीका कारण । उनीहरूलाई पनि कोरोना लाग्ला, केही होला भनेर होइन, छरछिमेकीको टोकेसो कसरी सहिरहेका होलान् भनेर ।
ह्विलचेयर प्रयोगकर्ता भएपछि राम र सानुमायाले कमाएको पैसाले भैंसेपाटी, साँगामा घर बनाए । एउटा सपना पूरा भयो । असारको अन्तिममा घर सरे । एक महिना मात्र आरामले बसेका थिए, सानुमायालाई कोरोना देखिइहाल्यो । ‘दुई दिनसम्म रोएकै–रोए भएँ, त्यसमाथि गाउँलेले छिःछि र दुरदुर गरे, म त मरेतुल्य भएँ,’ सानुमायाले भनिन् । पत्नी संक्रमित भएपछि गोलेको मुटुमा चिसो नपसेको होइन तर जसरी पनि बचाउँछु भन्ने आँट थियो । त्यस्तो बेला छिमेकीले साथ दिनु त परको कुरा, उल्टै दपेटेको गुनासो छ उनको । भन्छन्, ‘मेरी बूढीलाई मान्छे मारेको अपराधीजस्तै व्यवहार गरे । कोरोना भाइरसभन्दा समाजको भाइरसले बढी सतायो ।’
गोलेलाई संक्रमण भएपछि दुवै जना केन्द्रकै आइसोलेसनमा बसिरहेका छन् । घरमा १७ र १४ वर्षका छोराछोरी मात्र छन् । स्वाब बुधबार पठाइएको र शुक्रबारसम्म रिपोर्ट नआएको गोलेले बताए । बरोबर फोन गरेर छोराछोरीलाई सम्झाइरहन्छन्, छोराले त तैबिसेक बुझेका छन्,
छोरी भने सधैं रोइरहन्छिन् । ‘छोराछोरीलाई रिपोर्ट आयो ? रिपोर्ट आयो ? भनेर छिमेकीले टर्चर दिँदारहेछन् । ठूलो स्वरले बोल्छन् भनेर छोरी फोनमा रुन्छे,’ गोलेले दबिएको स्वरमा भने ।

‘न आफू जान मिल्छ, न त गाउँलेले बुझिदिन्छन् । बडो सकस भइरहेको छ,’ उनले भने । उनलाई डर छ, गाउँलेको व्यवहारबाट आजित भएर छोरीले नराम्रो केही गर्लिन् भन्ने । त्यसैले छोरालाई बहिनीको विशेष ख्याल गर्न अह्राइरहेका छन् । जबकि गोलेले लकडाउनमा हातैले मास्क सिलाएर वरपर बाँडेका थिए ।
रूपरेखा अलग होला तर समाजको यो अपमान उनका लागि नौलो होइन । स्पाइनल कर्ड इन्जुरी भएर थलिएका बेला पनि उनलाई ढाडस होइन, जीवनप्रति थप वितृष्णा पैदा गरिदिने र खिसिट्युरी गर्ने धेरै थिए । निराश हुँदै भन्छन्, ‘पहिले पनि समाजबाट यातनाजस्तै पाइयो, अहिले पनि त्यस्तै भइरहेको छ ।’
दुर्घटनाअगाडि उनी भक्तपुरमा तरकारी बेच्ने, कहिलेकाहीँ मिस्त्री काम गर्थे । कम्मरमुनिको भाग फिटिक्कै नचल्ने भएपछि यहाँ खान, बस्नै धौधौ भयो, बालबच्चा र पत्नी लिएर गाउँ गए । आशा थियो– छरछिमेकी र आफन्त भरोसा बन्नेछन् । तर उनको शारीरिक अवस्था गाउँलेका लागि रमिताजस्तो भइदियो । छिनछिनमा टोकेसो सहनुपर्ने । सबैको सार हुन्थ्यो, ‘यस्तो ज्यान लिएर बाँच्नुको सार छैन, परिवारलाई बोझ मात्र ।’ उनलाई पनि घरीघरी त्यस्तै लाग्थ्यो, भविष्य अन्धकार मात्र देख्थें । आफ्नै कारण श्रीमती र छोराछोरी हेपिनुपर्थ्यो । यसबाट मुक्ति पाउन एउटै मात्र बाटो देखे, आत्महत्या । ‘सबैको घाँडो भएर बाँच्नुभन्दा मर्नु जाती देखें, आत्महत्या प्रयास पनि गरें तर मर्न कहाँ सजिलो रैछ र ? जीवनमा अझै कति भोग्नै बाँकी थियो,’ रामले ती दिनहरू सम्झँदै भने ।
सहारा होला भनेर गाउँ पुगेका थिए, मानसिक तनाव थपेर सहर फर्किए, परिवारैसहित । बिस्तारै आफूमा सकारात्मक भाव जगाउन थाले । नचलेको त कम्मरमुनि न हो । अरू अंग बलिया छन् । त्यसैले हिँड्न नसके पनि के–के गर्न सकिन्छ, ख्याल गर्न थाले । उनको आँखामा पर्‍यो, थांका आर्ट । ६ महिना सिके । त्यसपछि आफूजस्तै अपांगता भएका बालबालिकालाई थांका सिकाउने मौका मिल्यो । लगत्तै अहिले उनले काम गर्ने पुनःस्थापना केन्द्रसँग सम्पर्क भयो । शान्ति सेवागृह, तिलगंगामा सिलाइ–बुनाइ र पेन्टिङसम्बन्धी सीप सिके । तिनताका सानुमाया बनेपामा ज्यामी काम गर्थिन्, रामले खाम बनाउने टेलरको रोजगारी पाए । मासिक ६ हजार आउन थाल्यो । अनि बल्ल पलायो, जीवनप्रतिको आस ।
बाँच्ने आधार बनेपछि स्पाइनल कर्ड इन्जुरीसम्बन्धी जनचेतना फैलाउन लागिपरे । हिजो आफूजस्तै हीनताबोधमा बाँचिरहेकाहरूलाई समाजको अवरोध चिर्दै उत्साहमय जीवनमा फर्काउनु थियो उनलाई । त्यसैले काभ्रेको नमोबुद्धबाट लुम्बिनीसम्म ३ सय ६६ किलोमिटर ह्विलचेयर यात्राको योजना बनाए । १० चैत ०७० बाट सुरु भएको यात्रा ५ वैशाख ०७१ मा टुंगियो । यो यात्राले खुब चर्चा पाए । ‘नसक्ने ठाउँमा अरूको सहायता लिएर, सक्ने ठाउँमा आफैंले काम गर्नॅपर्छ । पहिले पनि खुट्टाले होइन, हात र दिमागबाट काम हुन्थ्यो । अहिले पनि सबल छन् जस्तो लाग्न थाल्यो,’ गोलेले आफूमा आएको परिवर्तनको रहस्य खोले । त्यही आँटले फेरि लुम्बिनीदेखि भारतको बोधगयासम्म ह्विलचेयरमै यात्रा गरे ।
घरीघरी उनलाई लाग्दोरहेछ, दुर्घटना नहुँदो हो त जीवन त्यतिकै बित्थ्यो, तरकारी पसले र मिस्त्री कामभन्दा माथि उठ्दैनथे । पढाइ थिएन, अरू काम जान्दैनथे । तर अहिले उनलाई पुग्दो दाम छ अनि नाम पनि । कैयौंका लागि प्रेरणा बनेका छन् । हिजो रुने बुबाआमा अहिले छोराको तरक्की देखेर दंग छन् । गाउँमा उस्तै शान छ । सरकारी स्कुलबाट झिकेर छोराछोरीलाई बोर्डिङ स्कुल पढाए । आफ्नै घर बनाए । उनकै शब्दमा, मन चंगा छ । तर, फेरि उनले युद्ध लड्नु परिरहेको छ, हिजोको जस्तै । हिजो शारीरिक अशक्तताजस्तै समाजले पीडा दियो । अहिले भाइरसभन्दा समाजले सताइरहेको छ । ‘त्यतिबेला गाउँलेहरू बूढीले तँलाई छाडेर पोइल जान्छे, बच्चाको बिजोग हुन्छ भनेर अत्याउँथे । बूढीलाई चाहिँ यो अपांगलाई छोडिनस् भने दुःख पाउँछ भनेर उचाल्थे,’ गोलेका शब्दहरूमा हाम्रो सामाजिक चरित्र प्रतिविम्बित भइरहेको थियो, ‘अहिले छोराछोरीलाई आमा त बाँचेर आउली तर बाबु दीर्घरोगी हो, फर्केर आउँदैन भनेर अत्याउँदै छन् । यस्तो सहनचाहिँ निकै मुस्किल पर्दोरहेछ ।’
कति मान्छेहरू हार मान्दैनन्, गोले त्यस्तैमध्ये एक हुन् । सानुमायाको अनवरत साथ उनको आत्मविश्वासको स्रोत बनेको छ । हिजो उनलाई ‘अब बाँच्दैनस्, बाँचिस् भने पनि यस्तो ज्यानले के गर्छस्, बरु मरे नै सुख पाउँछस्’ भन्नेहरू थिए तर कर्ममार्फत ती सबैको मुख बन्द गरिदिए । फेरि त्यही कथा दोहोरिँदै छ । बडो आत्मविश्वासी भएर भन्छन्, ‘हिजो मैले नै मेरो ज्यानको माया मारिसकेको थिएँ तैपनि यहाँसम्म आइपुगें । अहिले त मर्छु र मरिएला भन्ने रत्तिभर चिन्ता छैन । त्यसैले
जसले जति हेला र अपमान गरे पनि फेरि गरेर देखाउँछु ।’

 

Page 2
समाचार

सीमा सिलकै बेला अभियुक्त कसरी उम्किए ?

- शिव पुरी,मातृका दाहाल

(रौतहट/काठमाडौं) - रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति करिब पौने ९ बजे मन्दिर परिसरमै अज्ञात समूहले गोली हानी हत्या गर्‍यो । केही बेरमै जानकारी पाएको जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्लासमेतलाई सर्कुलर गरेर हत्याराको खोज्न संयन्त्र परिचालन गर्‍यो । तर घटनाको १० दिन बितिसक्दा पनि हत्याराको अत्तोपत्तो छैन । अनुसन्धानमा संलग्न स्रोतले हत्यामा चार जना संलग्न भएको आशंका गरेको छ । उनीहरूसँग सम्पर्क रहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका चारै जना हत्या गरेकै दिन भागेर भारत पुगिसकेको स्रोतको भनाइ छ । गृह मन्त्रालयले घटनापछि हुन सक्ने धार्मिक आन्दोलन र विरोध जुलुसलाई ध्यान दिदै कुनै पनि कार्यक्रम गर्न नदिन रौतहट प्रशासन र प्रहरीलाई निर्देशन नै दिएको छ ।
‘सुन्धारा सुनचाँदी तस्करी प्रकरण’ का मुख्य योजनाकार भनिएका भारतीय नागरिक सञ्जय पटेल र अर्का योजनाकार निलेश सखिया नेपाल–भारत सीमा नाका सिल भएकै बेला जेठ अन्तिम साता भारतबाट वीरगन्ज हुँदै काठमाडौं आइपुगेका थिए । कुख्यात जाली नोट तस्करका रूपमा चिनिएका अल्ताफ भनिने बाराका इल्ताफ हुसेन अन्सारीको सेटिङमा उनीहरू काठमाडौं आइपुगेका थिए । तस्करीको सुन किन्न काठमाडौं आएका सञ्जय पटेल साउन १३ गते सेटिङ भत्किएपछि काठमाडौंबाटै फरार भए । अनुसन्धानमा संलग्न स्रोतका अनुसार उनी भारत पुगिसकेका छन् । काठमाडौंबाटै फरार भएका अन्सारी बाराको जितपुरबाट पक्राउ परे ।
यी दुवै घटना अनुसन्धानका क्रममा छन् । सीमा नाका सिल भएको अवस्थामा कसरी सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरा पार गरेर ‘अपराधी’ भारत पुगे त ?
नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि चैत पहिलो साताबाटै नेपाल–भारत सीमाबाट आउजाउमा कडाइ गरिएको छ । हरेक ५० मिटर दूरीमा सशस्त्र प्रहरी र भित्री घेरामा नेपाल प्रहरी तैनाथ छन् । नेपाल–भारत १ हजार ८ सय ८० किमि लम्बाइको सीमानामा प्रदेश १ मा ४ सय ४०, प्रदेश २ मा ४ सय ३५, वाग्मतीमा ८८, गण्डकीमा ४, प्रदेश ५ मा ४ सय ४५ र प्रदेश ७ सँग ४ सय ६८ किमि सीमा लम्बाइ छ । नाकामा अहिलेसम्मकै सबैभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । सशस्त्र र प्रहरीका करिब ३० हजार जनशक्ति अहिले नाका केन्द्रित छन् । अत्यावश्यक वस्तु तथा सेवासम्बन्धी सवारीसाधन पनि प्रशासन र प्रहरीको मात्रै अनुमतिमा सञ्चालन हुन पाउँछन् ।
शान्त स्वभावका थिए पुजारी
मन्दिरमा पूजा गर्दै दान र भिक्षाबाट गुजारा चलाउँदै पुजारी साह र केही मानिसबीच घटनाको दुई साताअघि समान्य विवाद भएको स्थानीयको भनाइ छ । पुजारीसित विवाद गर्ने मानिस को हुन् भन्ने प्रहरीले पत्ता लगाइसकेको छ । उनको हत्या गर्नुपर्ने कारण पनि त्यही हुन सक्ने प्रहरीको अनुमान छ । उनको अरू कसैसँग कुनै किसिमको रिसइबी नभएको नगरपालिकाका मेयर वीरेन्द्रप्रसाद यादवले बताए । ‘यतिको मिजासिलो र शान्त स्वभावका मानिस कमै भेटिन्छन्,’ उनले भने, ‘किन र कुन समूहले हत्या गर्‍यो, आश्चर्यमा परेका छौं ।’
पुजारी साह मन्दिरमा एक्लै बस्थे । श्रीमती पिनवादेवी साह बितेको एक दशकभन्दा बढी भइसकेको छ । छोराछोरी छैनन् । चार दाजुभाइमध्ये पुजारी जेठा हुन् । माइलो लालबाबु, साइलो उपेन्द्र अलग भइसकेका छन् । कान्छो बिन्देश्वरको केही वर्षअघि मृत्यु भइसकेको छ । पुजारी साहले अलग हुने बेला घर साइला भाइलाई दिएका थिए । सँगोलमा रहेको ९ कठ्ठा जग्गा माइलो भाइलाई नामसारी गरिदिए । थोरै नगद लिएर उनले बाटो छेउको सार्वजनिक जमिनमा आफ्नै खर्चमा हनुमानको सानो मन्दिर बनाएका थिए र परिवारबाट अलग भएका थिए । मन्दिर निर्माण २०७६ जेठमा सकिएको हो । घटनापछि प्रहरीले दाजुभाइसँग सामान्य सोधपुछ गरेको छ । अहिलेसम्म दाजुभाइको संलग्नता देखिएको छैन,’ रौतहटका डीएसपी भरत श्रेष्ठले भने ।
पुजारी साहले पर्वहरूमा गाउँलेलाई बोलाएर प्रसाद खुवाउँथे । बाटो हिँड्नेलाई समेत बोलाएर प्रसाद बाँड्थे । बुधबार राति मन्दिर छेउमा रहेको छाप्रो अगाडि बसेका बेला पुजारी साहको कन्चटमै ताकेर गोली प्रहार भएको थियो । पुजारीको घटनास्थलमै मृत्यु भयो । उनको शवछेउमा कचौरामा रोटी, तरकारी र भुइँमा सानो कागजमा नुन र एक लोटा पानी भेटिएको थियो । अहिले गाउँले समेत डरले मन्दिर जान छाडेका छन् ।
स्थानीयका अनुसार छरछिमेकमा पुजारी साहको कसैसँग दुश्मनी थिएन । वरिपरि अपरिचित मानिस आउँदा अलि खरो स्वरमा कुरा गर्ने उनको बानी थियो । घटना हुनु केही साताअघि छिमेकी गाउँका ४ जना मानिस मन्दिरनजिकै आएका थिए । मादक पदार्थ सेवन गरेर राति आएका उनीहरू मन्दिरनजिकैको धारामा आउँदा फोहोर नगर्न भन्दै साहले ‘चर्को स्वर’ गरेका थिए । यो कुरा स्थानीयले पनि प्रहरीलाई सुनाएका छन् । त्यस दिन आएका चार जना छिमेकी गाउँका रहेको खुलेको छ । अनुसन्धानमा असर पुग्ने भएर उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ‘धारामा आएका बेला पुजारीले गाली गरे वा के विषयमा भनाभन भयो, सायद त्यसकै बदला लिन हत्यासम्मको जघन्य अपराध गरिएको हुन सक्छ,’ प्रहरी स्रोतले भन्यो । छिमेकी गाउँका उनीहरू भेटिएका छैनन् । प्रहरीले फरार रहेका व्यक्तिको गाउँ पनि खुलाएको छैन ।

पक्राउ गरेरै छाड्छौं ः प्रहरी
घटनापछि प्रदेश–२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले एसएसपी यज्ञविनोद पोख्रेललाई अनुसन्धानका लागि रौतहट खटाएका थिए । डीआईजी सिंहले पुजारीको हत्यामा संलग्नको पहिचान खुलिसकेको बताए । ‘गोली प्रहार गर्नेमा कोको थिए भन्ने खुलिसकेको छ,’ उनले भने, ‘ती सबै भारत लुकेर बसेका छन् । उनीहरूलाई पक्राउ गरेरै छाड्छौं । उनीहरू कुन क्षेत्रबाट भारत छिरे भन्ने अनुसन्धानको विषय भएको छ । आफ्ना सुरक्षाकर्मी सीमामा चुकेको पाइए कारबाही हुन्छ ।’
पुजारी बस्ने खेसरहियास्थित हनुमान मन्दिर र नेपाल–भारत सीमा क्षेत्रको दूरी झण्डै २० किलोमिटर पर्छ । देहातको बाटो मोटरसाइकलमा जाँदा सीमामा पुग्न एक घण्टा जति लाग्छ । खेसरहियाबाट दक्षिण लागेपछि सीमा पुग्न झन्डै ७/८ वटा गाउँ छिचोल्नुपर्छ ।
नेपाल–भारत सीमास्थित रौतहटको पूर्वी नाका ब्रम्हपुरीबाट पश्चिम बङकुलसम्म ३२ किलोमिटरमा सशस्त्र प्रहरीका ५ वटा बीओपीका अलवा ६ वटा फरवार्ड बेस स्थापना गरिएका छन् । कोभिड–१९ को संक्रमणका कारण भारतबाट घर फर्केकाहरू चोरबाटो हुँदै प्रवेश गर्न थालेपछि सशस्त्रले बीओपीबाट गस्ती गर्न नसक्ने स्थानमा पाल टाँगेर फरवार्ड बेस स्थापना गरेको हो । अहिले सीमामा सशस्त्रका पाँच सय जना तैनाथ छन् । कुनै पनि अवस्थाको सामना गर्न र उच्छृंखल गतिविधि हुन थाले ११ नम्बर गण हेडक्वाटर गौरबाट थप १ सय ५० जना परिचालन गर्ने गरी तयार राखिएको छ । ‘सीमामा अहिले छिस्रिक्क मानिस आवतजावत गर्ने अवस्था छैन, सशस्त्र प्रहरी त्यही अवस्थामा परिचालित छ,’ ११ नम्बर गणका प्रमुख एसपी सूर्यबहादुर सेन ओलीले भने, ‘चैत ११ गतेदेखि निरन्तर सीमा सिल भएको छ । त्यहाँ कुनै किसिमको आपराधिक गतिविधि हुन पाउँदैन ।’
रौतहटमा नेपाल प्रहरीका पनि छुट्टै १० वटा सीमाचौकी छन् । उनीहरू सीमाक्षेत्रको गतिविधि नियन्त्रणमा खटेका हुन् । प्रत्येक चौकीमा असइको कमान्डमा प्रहरी तैनाथ गरिएको डीएसपी श्रेष्ठले बताए । सशस्त्र प्रहरी प्रदेश–२ छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी केबी ब्रम्हाचार्यले सीमाक्षेत्र सिल हुँदाहुँदै पुजारीका हत्याराहरू कुन र कसरी भारत पसे भन्ने विषयमा नेपाल प्रहरी अनुसन्धान थालेको बताए । सशस्त्रले पनि यसबारे सूक्ष्म रूपमा नियालिरहेको उनले बताए । ‘केही समय पर्खनुपर्ला, सीमाबाट पारी कसरी गए भन्ने विषयमा प्रहरी लागिपरेको छ,’ उनले भने, ‘चाँडै यथार्थ बाहिर आउँछ, सीमा निगरानी र जाँचमा कुनै कसर बाँकी राखेका छैनौँ ।’
रौतहटको पश्चिम सीमामा बारा जिल्ला पर्छ, पूर्वमा सर्लाही । यी जिल्लाहरूको भारतीय सीमासमेत सिल गरिएको छ । दुवै जिल्लाको सीमामा सशस्त्रका बीओपी र फरवार्ड बेस तथा प्रहरीका सीमाचौकी छन् । यस्तो अवस्थामा पनि अपराधी सहजै वारपार गरेका छन् । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्रले सीमाक्षेत्रबाट तस्करीमा भित्रिएको समान बरामद गरेको घटनाले पनि सीमामा सुरक्षा अवस्था कमजोर रहेको देखिन्छ । भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको २८ लाख रुपैयाँ सशस्त्र प्रहरीले बिहीबार मात्रै बरामद गरेको थियो । शुक्रबार अर्को ६ लाखको सामान बरामद गर्‍यो । त्यस्तै नेपाल प्रहरीले अवैध समान समातेर भन्सार बुझाएको छ । सीमा सिल भन्दै गर्दा यति धेरै समान बरामद भएपछि रौतहटका सुरक्षा अधिकारीहरूमाथि सीमा अपराध र भन्सार छली नियन्त्रणमा कडाइ गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

 

समाचार

निषेधाज्ञाको प्रभाव 'दुई सातापछि’

- बुनु थारू

(काठमाडौं) - सरकारले काठमाडौंमा जारी गरेको निषेधाज्ञाको प्रभाव संक्रमणमा दुई सातापछि मात्र देखिने विज्ञहरूले बताएका छन् । उनीहरू त्यसअघि आवश्यक तयारी थाल्न सरकारलाई सुझाव दिएका छन् ।
संक्रमितको संख्या बढेपछि काठमाडौं उपत्यकामा भदौ ३ देखि १० गतेसम्म निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञा थपेर १७ गतेसम्म पुर्‍याइएको छ । भदौ ३ मा उपत्यकामा संक्रमितको संख्या २ हजार ४ सय ९८ थियो । वाग्मती प्रदेशको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या शुक्रबार ४ हजार ८ सय २० पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनी उपत्यकामा निषेधाज्ञा लागू गरे पनि संक्रमितको संख्या अझै थपिँदै जाने बताउँछन् । ‘निषेधाज्ञाको प्रभाव देखिन अझै १४ दिन लाग्छ । योभन्दा अगाडि शरीरमा भाइरस पसिसकेकालाई अहिले देखिन्छ । यो प्रभावकारी भयो कि भएन १७ गतेपछि थाहा हुन्छ,’ उनले भने, ‘तिजका समयमा धेरै भीडभाड भयो । भीडभाड हुनेबित्तिकै त्यहाँ कोरोना संक्रमणको जोखिम भइहाल्छ । सेवाग्राहीको भीड व्यवस्थापन गर्ने योजना बनाउनुपर्छ । चैत १० गते सरकारी कार्यालयमा जस्तो भीड हुन्थ्यो अहिले पनि त्यस्तै छ ।’
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले निषेधाज्ञा आफैंमा कोरोना संक्रमण नियन्त्रण गर्ने उपाय नभएको बताए । उनका अनुसार निषेधाज्ञालाई महामारी नियन्त्रण गर्न थप तयारी वा मौकाका रूपमा लिन सकिन्छ । ट्रेसिङ र आइसोलेट प्रभावकारी रूपमा भएन भने कोरोना नियन्त्रण हुनै नसक्ने उनले बताए । ‘मानिस अहिले टाढा गएका छैनन् होला, घरभित्रै छन् वा घरवरिपरि टोलमा घुमिरहेका छन् । घर र टोल भित्रभित्रै सरिरहेको हुन सक्छ । लक्षण देखिए पनि यातायात र अरू कडाइले मानिस परीक्षण गर्न जान पाएका छैनन्,’ उनले भने ।
डा. सुवेदीले धेरै परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमित पत्ता लगाउन सक्नुपर्ने बताए । ‘निषेधाज्ञा गरेर
कन्ट्याक्ट ट्रेसिङ बलियो बनाइएको छ कि छैन र सबैलाई परीक्षणको पहुँच छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पीसीआर परीक्षण सजिलो बनाउने उपाय अपनाउनुपर्छ ।’
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे निषेधाज्ञा लागू भएका बेला कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउनुपर्ने बताउँछन् । उनले भने, ‘काठमाडौं उपत्यकामा ६० लाख जनसंख्या छ, यहाँ पुलिङ विधि अपनाएर दिनको ५०–६० हजार जनाको परीक्षण गर्ने र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने हो भने संक्रमणको यथार्थता थाहा हुन्छ,’ उनले भने । उनले निषेधाज्ञाको प्रभाव १० दिनपछि देखिने भएकाले भदौ १७ पछि निषेधाज्ञा खुकुलो गर्ने र जनस्वास्थ्य मापदण्ड कडाइका साथ अनुगमन र निगरानी गर्ने हो भने संक्रमण घट्दै जाने बताए । ‘१० दिनपछि संक्रमण घट्दै गएन भने समुदायमा फैलिने जोखिम रहन्छ,’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमितको संख्या घट्न अझै समय लाग्ने बताए ।

समाचार

१३ संक्रमितको मृत्यु

- प्रदेश ब्युरो

(काठमाडौं) - कोरोना संक्रमणबाट शुक्रबार १३ जनाको मृत्यु पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी मकवानपुर, हेटौंडाकी ७१ वर्षीया महिला र भरतपुरकै पुष्पाञ्जली अस्पतालमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । शुक्रबार नै गोरखाका ३८ वर्षीय पुरुषको पनि भरतपुर अस्पतालमा मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–१६ का ५२ वर्षीय पुरुषको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शुक्रबार मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । अस्पताल परिसरमा पुर्‍याउनेबित्तिकै उनको मृत्यु भएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।
मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीय महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि कोसी अस्पतालले भदौ ९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरेको थियो । सोही दिन कोरोना पुष्टि भएपछि उनको आईसीयूमा उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले बताए । झापाको दमक नगरपालिका–३ का ८३ वर्षीय वृद्धको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको छ । सिरहाको लहानकी ६५ वर्षीया महिलाको कोसी अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा शुक्रबार बिहान मृत्यु भएको हो । उनलाई बिहीबार बेलुका उक्त केन्द्रमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएकी उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा भदौ ७ गते भर्ना भएका तिलोत्तमा नगरपालिका–८ का ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । मधुमेहका रोगी उनमा फोक्सोमा समस्या देखिएको थियो ।
पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षीया महिलाको शुक्रबार लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ । ‘अस्पतालमा उपचार गर्न ल्याउँदा नै श्वास फेर्न समस्या थियो,’ मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले भने, ‘अवस्था झन् बिग्रँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । शुक्रबार अपराह्न निधन भयो ।’ उनी लामो समयदेखि मुटुकी बिरामी थिइन् । यस्तै, धनुषाका ४५ वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्युपछि तीन जनामा कोरोना पुष्टि
उदयपुरको त्रियुगा नगरपालिका–४ का एक शिक्षकमा मृत्युको तीन दिनपछि कोरोना पुष्टि भएको छ । घरमै सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।
अस्पतालका कोभिड कमिटीका सञ्चार संयोजक माधवप्रसाद घिमिरेले ५२ वर्षीय ती शिक्षकको मंगलबार राति मृत्यु भएको बताए । ‘उपचारका लागि ल्याएलगत्तै मृत्यु भएको हो । रिपोर्ट बिहीबार आएको छ,’ उनले भने । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन २८ देखि बिरामी रहेको पारिवारिक स्रोतले बतायो । यस्तै, भक्तपुर नगरपालिका–३ मंगलाछेंका ८२ वर्षीय पुरुषको पनि मृत्युपछि संक्रमण पुष्टि भएको हो । भक्तपुर अस्पतालमा उपचाररत मधुमेह र निमोनियाका बिरामी उनको शुक्रबार बिहान मृत्यु भएको थियो ।
मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको पनि संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो कम्युनिटी अस्पताल गठ्ठाघर ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको र पीसीआर परीक्षण गर्दा कोरोना देखिएको अस्पतालकी प्रमुख प्रशासक मञ्जु तिमल्सिनाले बताइन् । ती महिलाको प्रत्यक्ष सम्पर्कमा आएका चिकित्सकसहित पाँच स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ ।

 

समाचार

तीन मन्त्री र प्रधानसेनापति क्वारेन्टाइनमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा बसेका छन् । केही दिनअघि सीसीएमसीको बैठकमा सहभागी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापा र सचिव महेन्द्र गुरागाईं होम क्वारेन्टाइनमा बसेका हुन् ।
सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा साढे दुई घण्टा छलफल भएको थियो । त्यहाँ सहभागी सीसीएमसीका कर्मचारी नै संक्रमित भएका हुन् । मन्त्रीसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीको पीसीआर परीक्षण गरिएको छ । सत्तारूढ दल नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेल र थापा क्वारेन्टाइनमा बसेसँगै नेकपाको शनिबार बस्ने सचिवालय बैठक पनि स्थगित भएको छ । सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव गुरागाईंका अनुसार सैनिक कर्मचारीमा संक्रमण देखिएको हो ।

 

Page 3
समाचार

प्रदेशको अधिकारमा निरन्तर अंकुश

- राजेश मिश्र

(काठमाडौं) - सविधानले प्रदेशलाई तोकेका अधिकारहरू अभ्यासमा नआउँदै संघीय सरकारले त्यसमाथि अतिक्रमणको प्रयास थालेको छ । त्यसको पछिल्लो उदाहरण हो– प्रदेश प्रहरी प्रशासन र शान्तिसुरक्षा तथा निजामती कर्मचारी प्रशासनमाथि
संघको नजर ।
संघ (केन्द्र) सरकारले संघीय राजधानी काठमाडौं उपत्यकाको शान्तिसुरक्षाको जिम्मेवारी आफू मातहत राख्ने तयारी गरेको छ । त्यसका लागि संघीय संसद्ले बनाएको प्रहरीसम्बन्धी दुइटा ऐनलाई कार्यान्वयनमा नआउँदै अध्यादेशमार्फत संशोधनको तयारी गरिएको छ । यसअघि भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजनसम्बन्धी नीतिगत निर्णय गरेर प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका कर्मचारीलाई चलाउन पाउने अधिकार आफूसँग राखेको छ । संविधानविद् र संघीय मामिलाका जानकारले सरकारका पछिल्ला दुवै कदमलाई संविधानविरोधी कदम मानेका छन् ।
प्रदेशभित्रको प्रहरी प्रशासन र शान्तिसुरक्षाको अधिकार संविधानले स्पष्ट रूपमा प्रदेशलाई तोकेको छ । संविधानको अनुसूची–६ मा रहेको प्रदेशको एकल अधिकारको सूचीमा प्राथमिकतासाथ पहिलो बुँदामै ‘प्रदेश प्रहरी प्रशासन र शान्तिसुरक्षा’ को अधिकार प्रदेशको हुने उल्लेख छ । संविधानको त्यही व्यवस्थाअनुसार संघीय संसद्ले गत माघमा बनाएको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरिवेक्षण र समन्वयसम्बन्धी ऐनमा प्रदेशभित्रको शान्तिसुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने अधिकार प्रदेश प्रहरीलाई तोकिएको छ । संविधानले कुनै पनि जिल्ला वा क्षेत्रलाई केन्द्र शासित क्षेत्र तोकेको छैन । ७७ वटै जिल्ला ७ प्रदेशमा विभाजित छन् । त्यसअनुसार संघीय राजधानी रहेको काठमाडौं उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुर वाग्मती प्रदेशका जिल्ला हुन् ।
प्रदेश प्रहरी गठनका लागि गृह मन्त्रालयले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्नेसम्बन्धी ऐनअनुसार दरबन्दी संरचना स्वीकृत गर्ने तथा त्यसअनुसार प्रहरी जनशक्तिको समायोजनको तयारी थालेको छ । समायोजन तयारीकै क्रममा संघीय राजधानीको सुरक्षा केन्द्र मातहत राख्नुपर्ने विषयले बल पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नै त्यही पक्षमा छन् ।
संविधान बनाउने बेलाको गृहकार्यमा सक्रिय रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी काठमाडौं उपत्यकाका तीन जिल्लाको शान्तिसुरक्षाको कमाण्ड संघ (केन्द्र) सरकार मातहत राख्ने छुट संविधानले नदिएको बताउँछन् । ‘संविधानले काठमाडौं उपत्यकाका सन्दर्भमा छुट्ट कुनै व्यवस्था गरेको छैन । संविधानअनुसार काठमाडौं उपत्यकाको शान्तिसुरक्षाको जिम्मेवारी प्रदेश सरकारकै हुन्छ,’ उनले भने, ‘प्रदेशमा समायोजन भइसकेका कर्मचारीलाई संशोधनका नाममा चलाउने अधिकार पनि संघ सरकारसँग छैन । यी दुइटै कदम संविधानले लिएको संघीयताको सामान्य सिद्धान्तका विपरीत हुन् ।’
संविधान निर्माणका बेला तत्कालीन माओवादी र मधेसवादी दल प्रदेशको अधिकारका लागि अलि बढी लडेका थिए । माओवादी पृष्ठभूमिका रामबहादुर थापा गृहमन्त्री छन् । उनी नै प्रदेशले पाएको अधिकार केन्द्रमा तान्ने कसरतमा देखिन्छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता अधिकारीले संविधानको मस्यौदा गर्ने बेला शान्तिसुरक्षाका लागि ‘दिल्ली’ मोडल अर्थात् संघीय राजधानीको सुरक्षा केन्द्र मातहत राख्ने विषयलाई लिएर घनिभूत छलफल भएको सुनाए । ‘तर, संघीयतामै जाने भइसकेपछि त्यो मोडल पनि राम्रो हुँदैन भनेर छाडिएको हो,’ उनले भने, ‘आन्तरिक शान्तिसुरक्षाको जिम्मेवारी सम्पूर्ण रूपमा प्रदेशको जिम्मामा छाडिएको हो । सीमित कामका लागि सानो संख्यामा केन्द्रमा नेपाल प्रहरीको संरचना राख्ने संविधान बनाउँदाको मर्म थियो ।’
शान्तिसुरक्षाको सवालमा काठमाडौं उपत्यकालाई प्रदेशको अधिकार क्षेत्रबाट अलग्याउने विषयप्रति वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनले केन्द्रीयतावादी सोचका साथ चालिएका कदमहरूले संघीयता चाहिएको हो कि होइन भन्ने प्रश्न उठेको बताए । ‘तल अधिकार हस्तान्तरणको कुरा आउनासाथ त्यसमा ब्रेक लगाइहाल्ने अभ्यास देखिएको छ । संघीयताबारे दृष्टिकोणमै स्पष्टता भएन,’ उनले भने, ‘अघोषित रूपमा केन्द्र नियन्त्रित संघीय प्रणाली विकास गर्न खोजिँदै छ । त्यसले संघीयता लरखराउने र बाटो बिराउने सम्भावना रहन्छ ।’ उनले प्रदेशको अधिकार क्षेत्रमा संविधानविपरीत गरिने हस्तक्षेपले प्रदेशको अस्तित्वलाई नै लिएर प्रश्न उब्जिने बताए । काठमाडौं उपत्यकाको शान्तिसुरक्षाको जिम्मेवारी प्रदेशबाट खोसिए त्यसविरुद्ध सर्वोच्चमा चुनौती दिने उनले बताए ।
संविधानले दिएको आफ्नो अधिकार रक्षाका लागि प्रदेश २ लगातार लडिरहेको छ । ६ वटा प्रदेशमा सरकार संघमा चलाइरहेको नेकपाकै सरकार छन् । प्रदेश २ मा भने संघमा विपक्षमा रहेको जनता समाजवादी पार्टीले सरकार चलाइरहेको छ । त्यसले पनि संघ सरकारसँग अधिकारको लडाइँमा उक्त प्रदेश अग्रपंक्तिमा छ । उक्त प्रदेश कर्मचारी समायोजन संशोधनका सन्दर्भमा गरिएको निर्णयविरुद्ध यही साता सर्वोच्च अदालत पुगिसकेको छ । गत वर्ष संघीय संसद्बाट पारित वन ऐन तथा प्रदेशमा गइसकेको सागरनाथ वन विकास परियोजनलाई केन्द्रमा तानिएकामा त्यसविरुद्ध प्रदेश २ ले सर्वोच्च अदालतमा रिट दिएको थियो । प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापनको अधिकार संविधानले प्रदेशलाई दिएको छ । तर वन ऐनमा प्रदेश मातहत रहने डिभिजन वन कार्यालयको प्रमुख (डीएफओ) लाई संघ सरकार मातहत राखिएको छ । वन ऐनले डीएफओलाई सबै अधिकार दिएको छ । उक्त ऐनअनुसार वन क्षेत्रमा संविधानले दिएको अधिकारअनुसार प्रदेशको केही नचल्ने भएपछि प्रदेश सरकार सर्वोच्चमा पुगेको हो । उक्त मुद्दा विचाराधीन छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संविधानले लिएको संघीयताको ‘स्पिरिट’ अनुसार संघ सरकार अगाडि नबढ्दा समस्या भएको बताए । ‘संविधानले जुन अधिकार प्रदेशलाई दिएको छ । त्यसअनुसारको कानुनी व्यवस्था, संरचना तथा जनशक्ति प्रदेशलाई हस्तान्तरण गरेको भए सबै कुराले गति लिइसक्थ्यो,’ उनले भने, ‘तर बिनाप्रहरी, प्रशासन, कर्मचारी प्रदेश सरकारहरू चलिरहेका छन् । संविधानले दिएका अधिकार पनि कुनै न कुनै बहाना बनाएर तल पठाउन नचाहने प्रयत्न गरिएका छन् ।’
संघीयताका लागि चाहिने अति आवश्यक धेरै कानुन अझै पनि संघ सरकारले बनाइसकेको छैन । बनाइएका कानुनहरूमा पनि प्रदेशको अधिकारलाई सीमति बनाउने प्रयत्न गरिएको वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य बताउँछन् । प्रदेश ५ को कानुन आयोगका अध्यक्ष रहिसकेका शर्माको अनुभवमा संविधानले दिएको अधिकारलाई ऐनहरूमार्फत सीमित गर्ने प्रयत्न गरिएको छ । ‘घुमाइफिराइ तल अधिकार नपठाउने प्रयत्न गरिएका छन् । संघीयता कार्यान्वयनका लागि पछिल्लो समय बनाइएका हरेकजसो ऐनमा त्यस्तो समस्या देखिएको छ,’ उनले भने, ‘संघीय कानुनअनुसार प्रदेशले बनाउने कानुन अधिकारका हिसाबले फितलो मात्रै होइन, कार्यान्वयनमा पनि समस्या हुने देखिन्छ ।’ उनले संविधानको भावनाअनुसार संघले अधिकार हस्तान्तरणमा उदारता नदेखाउँदा संघीयताको वास्तविक कार्यान्वयन नहुने स्थिति आएको बताए । उनले संविधानले सबै प्रदेशलाई समान अधिकार र व्यवहार गरेकाले वाग्मती प्रदेशका केही जिल्लाको शान्तिसुरक्षाको अधिकार संघमार्फत राख्न त्यहीअनुसारको व्यवस्था संविधानमै गरिनुपर्ने
उल्लेख गरे ।
संविधानले दिएका अधिकार खोसिएका र खोस्न खोजिएका धेरै उदाहरण भए पनि प्रदेश तथा स्थानीय तहहरू प्रतिवादमा उत्रिन नसकेको शर्माले बताए । ‘पार्टीभित्रको वृत्ति विकासको सम्भावनालाई हेरेर पनि तलका नेताहरूले मुखरित हुन नचाहेका हुन सक्छन्,’ उनले भने, ‘प्रदेश मात्रै होइन, स्थानीय तहमा जानुपर्ने अधिकारहरू पनि
अभ्यासमा जान सकेका छैनन् ।’ उनले शक्ति केन्द्रमै राख्न कर्मचारीतन्त्रले घुमाउँदा र मन्त्रीहरू त्यहीअनुसार चल्दा समस्या भएको बताए ।
पछिल्लो समय सरकारले सदनमा पेस गरेका विधेयकहरूमा उल्लेखित विषयहरू केन्द्रीय मानसिकताबाट नै प्रेरित देखिन्छन् । संसद्ले त्यसलाई सच्याउने गरेका छन् । प्रहरीसम्बन्धी दुइटै विधेयकमा धेरै हदसम्म प्रदेशलाई बलियो बनाउने गरी संसद्ले सुधार गरेको छ । अन्तरसम्बन्धसम्बन्धी तथा प्रदेश लोकसेवा गठनसम्बन्धी विधेयक सदनबाटै सुधार भएका छन् । तर, संसद्मा सत्तारूढ दलको सहज बहुमत रहेका कारण सरकारले ‘पोजिसन’ लिएका कुरालाई सदनले पनि सच्याउन सकेको छैन । राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता अधिकारी सरकारले विधेयकहरू संघीयताको मर्मअनुसार नल्याउने नगरेको बताए । ‘विधेयकहरू संविधानले गरेको ओरिजिनल प्लानिङभन्दा बाहिर आउँछन् । कानुन बनाउने बेला संसद्मा धेरै झगडा पर्छ । सुधार पनि हुन्छन्,’ उनले भने, ‘सबै कुरामा सुधारका लागि विपक्षीको बल पुग्दैन ।’

समाचार

नेकपा बैठक १८ गतेसम्म स्थगित

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । कोरोना संक्रमण असाध्यै बढ्दै गएको र यस्तोमा सरकार तथा पार्टीको प्रभावकारी भूमिका आवश्यक पर्ने भएको हुनाले बैठक स्थगन गरिएको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । ‘कोरोना बढेको बढ्यै छ, सरकारले राम्रोसँग काम गरोस्, उसको भूमिकामा पार्टीको सहयोग रहोस् भनेर बैठक स्थगन गरिएको हो,’ नेपालले कान्तिपुरसँग भने, ‘अहिले स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउन सकिँदैन, छलफल मात्रै हुने, समस्या नसल्टिने बैठक बोलाउनुभन्दा पर धकेल्नु
ठीक हुन्छ ।’
सचिवालयका अर्का नेताका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सहभागी भएको बैठकमा उपस्थित एक जनामा कोरोना संक्रमण देखिएकाले बैठक १८ गतेसम्म सारिएको हो । यसअघि आफ्ना सुरक्षाकर्मीमा संक्रमण देखिएपछि नेता नेपाल पनि एक साता क्वारेन्टाइनमा बसेका थिए ।
नेकपामा आन्तरिक द्वन्द्व चर्किंदै गएपछि गत साउन ३० गते बनेको समस्या समाधानसम्बन्धी कार्यदलले गत सोमबार प्रतिवेदन बुझाएपछि त्यसमाथि छलफल गर्न शनिबारका लागि बैठक डाकिएको थियो । ९ महिनादेखिको आन्तरिक द्वन्द्वका कारण नेकपाले संक्रमणभन्दा धेरै आन्तरिक बेमेल र छलफलमै समय बिताउँदै आएको थियो । कोरोना संक्रमण बढिरहेकै बेला सुरु भएको स्थायी कमिटी बैठकमा झन धेरै विवाद भएपछि नेकपाले समस्या समाधानका लागि कार्यदल बनाएको थियो । कार्यदलले ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचै वर्ष सरकार चलाउने तर पार्टीको सल्लाह लिनुपर्ने तथा पार्टीको सम्पूर्ण कार्यकारी भूमिका अध्यक्ष दाहालको हुने प्रस्ताव गरिएको छ । सहमतिमै पार्टीको एकता महाधिवेशन गर्ने र त्यसको तयारीका लागि असोज दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव कार्यदलले गरेको छ । तर पार्टीमा उठ्दै आएको एक व्यक्ति एक पद, एकलौटी राजनीतिक नियुक्तिबारे प्रतिवेदनले केही नबोलेको भन्दै सचिवालय सदस्यहरूले बैठकमा प्रतिवेदन परिमार्जनको प्रस्ताव राख्ने तयारी गरेका थिए । सचिवालय बैठक स्थगित भएसंगै कार्यदलको प्रतिवेदनबारे नेताहरूले ‘पोजिसन’ स्पष्ट गर्ने काम पनि अहिलेका लागि स्थगित भएको छ ।
बैठक स्थगन गर्नुअघि शुक्रबार बिहान अध्यक्षद्वयका बीचमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा पनि कोरोना संक्रमण बढेकाले त्यतैतिर ध्यान केन्द्रित गर्नुपर्ने कुरा भएको थियो ।

समाचार

क्रियाशील सदस्यताको किचलो

- कुलचन्द्र न्यौपाने

(काठमाडौं) - कांग्रेसमा दुईथरी सदस्यता छन्– साधारण र क्रियाशील । साधारण सदस्यता जोकोहीले सहजै पाउन सक्छन् । त्यसको कुनै अभिलेख पार्टीमा छैन । क्रियाशील सदस्यता पाउनचाहिँ विधानमै लामो मापदण्ड तोकिएको छ तर कहिल्यै पालना भएको छैन ।
विधानको दफा ५० को उपदफा ६ मा महाधिवेशन हुनुभन्दा ६ महिनाअघि सदस्यता वितरण र नवीकरण बन्द गर्नुपर्ने व्यवस्था छ । व्यवहारमा महाधिवेशन आउन ६ महिना बाँकी हुँदा बल्ल क्रियाशील सदस्यताको वितरण र नवीकरण थालिएको छ । यतिबेला केन्द्रबाट ६४ जिल्लाले क्रियाशील सदस्यता फाराम लगेका छन् । तीबाहेक कतिपयमा नेताहरूको स्वार्थ हावी भएको छ । ११ जिल्लामा पार्टीका पुराना संरचना समायोजन नटुंगिएकाले रोकिएको छ । विधानमा ६ महिनाअगावै सदस्य भएकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ तर व्यवहारमा उल्टो छ । क्रियाशील सदस्यताको टुंगो लाग्नुअघिसम्म सदस्य भए पनि मतदान गर्न पाउने प्रचलन बसालिएको छ ।
१४ औं महाधिवेशन नजिकिँदै गर्दा फेरि क्रियाशील सदस्यताको मुद्दा पार्टीभित्र विवादको मुख्य चुरो बनेको छ । सदस्यता वितरणलाई लिएर संस्थापन पक्षसँग इतरपक्षको जहिल्यै पनि अविश्वास र संशय रहन्छ । तत्कालीन सभापति सुशील कोइरालाको पालामा वर्तमान सभापति शेरबहादुर देउवालाई त्यस्तै अविश्वास थियो । महाधिवेशनको मुखमा देउवाले केन्द्रीय सदस्यबाट राजीनामा दिनेदेखि बैठक बहिष्कार, घेराउ, अनशनजस्ता हत्कन्डा अपनाएका थिए ।
घुमीफिरी रुम्जाटार भनेजस्तै देउवाप्रति अहिले त्यस्तै खालको अविश्वास वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले गरेको छ । पौडेल पक्षले पार्टी नेतृत्वले महाधिवेशन कब्जा गर्नका लागि सदस्यता वितरणमा अनियमितता गरेको आरोप लगाएको छ । त्यसविरुद्ध धर्ना, अनशनजस्ता बिरोधबाट दबाब दिने रणनीति उसले बनाएको छ । नेता शेखर कोइरालाका अनुसार महाधिवेशनको मुख्य खेल क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । सदस्यता प्रणालीलाई व्यवस्थित नबनाइँदा जहिल्यै यस्तो लफडा निम्तने उनी बताउँछन् ।
‘व्यवस्थित हुँदा गोलमाल गर्न पाइन्न । गोलमाल गर्न नपाएपछि आफू कमजोर भइन्छ भन्ने मानसिकता नेतृत्वमा देखिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘चुनाव जित्नका लागि सदस्यता वितरणमै धाँधली गर्ने काम अहिले पनि भइरहेको छ । शेरबहादुरजीले धेरै जिल्लामा विधानविपरीत बाटोबाट क्रियाशील सदस्यता दिने काम थाल्नुभएको छ । यसलाई रोक्नका लागि धर्ना नै दिनुपर्ने अवस्था आएको छ ।’
विधान एकातिर, व्यवहार अर्कोतर्फ हुँदा समस्या निम्तने गरेको तर्कसँग संस्थापनपक्षीय नेता सुरेन्द्र पाण्डे पनि सहमत छन् । विधानअनुसारको मापदण्ड अपनाएर क्रियाशील सदस्यता दिने, महाधिवेशन सुरु हुने ६ महिनाअघि वितरण र नवीकरण बन्द गर्ने परिपाटी बसाल्न सके अहिले देखिएजस्तो विवाद नआउने उनको तर्क छ । ‘विधानको प्रावधान फलो नगर्दा जहिल्यै महाधिवेशनमा क्रियाशील सदस्यता विवाद निम्तने गर्छ,’ उनले भने ।
सभापति देउवाले फेरि नेतृत्वमा दोहोरिन खोजेका छन् । जसबाट अविश्वास झनै गहिरिएको छ । देउवाले आफ्नो अनुकूल परिस्थिति खडा गर्न पद र सदस्यतालाई मुख्य हतियार बनाएको आरोप पौडेल पक्षको छ । पछिल्ला पटक देउवाका गतिविधिले पौडेल पक्षलाई संशकित बनाएको छ । देउवाले महाधिवेशन घोषणा भइसकेपछि केन्द्रीय विभागहरू गठन गरे, जुन काम विधानअनुसार ६ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था छ ।
अर्कोतर्फ देउवाले पार्टीमा निर्णय नगराई अन्य पार्टीबाट प्रवेश गर्नेहरूका लागि भन्दै क्रियाशील सदस्यता वितरण थालेका छन् । आफ्नै गृहजिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई बाइपास गरेर क्रियाशील सदस्यता दिएको घटना अहिले विवादको केन्द्रमा छ । डडेलधुराका जिल्ला सभापति कर्ण मल्ललाई थाहै नदिई निर्वाचनताका तत्कालीन माओवादी केन्द्रबाट कांग्रेस प्रवेश गरेका जनकलाल कलौनीलाई १ हजार १ सय ७ थान सदस्यताको फाराम केन्द्रले दिएको छ । जिल्ला सभापति कर्णका अनुसार क्रियाशील सदस्यता पाउने माओवादीका त्यति कार्यकर्ता कांग्रेसमा आएकै छैनन् । उनीहरूको नाममा आफ्नो निकट र विश्वासपात्रहरूलाई सदस्य बनाउने रणनीति रहेको बुझाइ उनको छ ।
रसुवामा पनि तत्कालीन नयाँ शक्ति पार्टीका कार्यकर्ताका लागि भन्दै १ हजार २ सय थान क्रियाशील सदस्यता फाराम दिइएको छ । जबकि त्यहाँका कांग्रेसको कुल सदस्य संख्या १ हजार ४ सय ६ मात्रै छ । कोइरालाको दाबीअनुसार रसुवामा तत्कालीन नयाँ शक्ति पार्टीबाट कांग्रेसमा आउनेहरूको संख्या त्यति छैन ।
तल्ला तहका पार्टी संरचनामा संस्थापन इतरपक्ष बलियो छ । विधानअनुसार क्रियाशील सदस्यताको फाराम जिल्ला कार्यसमितिले लैजाने, वडा र पालिकाको सिफारिसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यता दिने प्रक्रिया छ । क्षेत्रीय कार्यसमितिले त्यसरी निर्णय गरेको क्रियाशील सदस्यतालाई जिल्ला कार्यसमितिका सभापतिले हस्ताक्षरसहित केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ । तल्ला संरचनामा इतरपक्षको बाहुल्य रहेकामा संस्थापन पक्ष र संस्थापन पक्षको बाहुल्य रहेका ठाउँमा इतरपक्षलाई कमजोर बनाउन सदस्यता वितरणदेखि नै चलखेल हुन्छ । देउवाले अन्य पार्टीबाट आएका कार्यकर्ताका लागि जिल्ला सभापति अनुकूल नभएमा सिधै केन्द्रीय तथा आमन्त्रित सदस्यमार्फत सदस्यता पठाउने गरेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ ।
निर्वाचनताका विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक, अखण्ड नेपाल, अखण्ड नेपाल समानान्तर कांग्रेसमा आएका थिए । गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई २५ हजार क्रियाशील सदस्यता दिने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ । त्यसबाहेक अखण्ड नेपाल, अखण्ड नेपाल समानान्तरका लागि ३ हजार ५ सय क्रियाशील सदस्यता दिइएको छ । पार्टी नभएर व्यक्तिविशेषका रूपमा कांग्रेस प्रवेश गरेकालाई पनि एकमुष्ट रूपमा क्रियाशील सदस्यता दिने रणनीति देउवाले बनाएका छन् । यस्तो अवस्थामा निर्वाचनका बेला कांग्रेस प्रवेश गरेका सर्लाहीका तत्कालीन माओवादी केन्द्रका शम्भुलाल श्रेष्ठ, सर्लाहीकै तत्कालीन राजपाका जंगीलाल राय, कपिलवस्तुका तत्कालीन समाजवादीका अभिषेकप्रताप साह, कैलालीका तत्कालीन एमालेका मोहनसिंह राठौर, स्याङ्जाका तत्कालीन नयाँ शक्ति पार्टीका भूमिबहादुर गुरुङ, डोल्पाका तत्कालीन राप्रपा संयुक्तका कर्णबहादुर बुढालगायत करिब एक दर्जन नेतालाई पनि एकमुष्ट सदस्यता दिने रणनीतिमा देउवा छन् ।
कोइरालाले सभापति देउवाले पार्टी कब्जा गर्ने रणनीति बनाएको दाबी गरे । पार्टी केन्द्रीय कार्यसमितिमा अन्य दलबाट आउने नेता र उनीहरूका केही समर्थकलाई केन्द्रबाट क्रियाशील सदस्यता दिने र बाँकीलाई पार्टीको ‘च्यानल’ मार्फत समाहित गर्ने समझदारी बनेको थियो । त्यसविपरीत एकमुष्ट सदस्यताको फाराम पठाउन थालेपछि आफूहरूलाई आशंका बढेको उनको भनाइ छ । ‘यस्तो अनियमितता रोक्न सकेनौं भने शेरबहादुरजी नै फेरि बलियो बन्नुहुन्छ,’ उनले भने, ‘यस्तो अनियमितता हुन नदिन देशभरका कार्यकर्तालाई गोलबन्द गरेर धर्ना र विरोधका कार्यक्रम अघि बढाउने तयारीमा हामी छौं ।’
यसपटक केन्द्रको गुटको प्रभाव क्रियाशील सदस्यतासम्म पुगेको छ । स्थानीय तहबाटै गुटगत रूपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्छ । कोइरालाका अनुसार गुटगत रूपमा निर्वाचित भएर आए पनि १५ देखि २० प्रतिशत मतदाता चलायमान हुन सक्छन् । उनले भने, ‘त्यसैका लागि अहिले क्रियाशील सदस्यतामै चलखेल भइरहेको छ ।’
क्रियाशील सदस्यताको प्रभाव केन्द्रीय सभापतिको चयनसम्म पर्ने भएकाले पनि नेताहरूको स्वार्थ तलैसम्म पर्ने नेता पाण्डेले बताए । उनका अनुसार यसअघि महाधिवेशन प्रतिनिधिको छनोट भएपछि मात्रै नेताहरूको चासो बढ्ने गर्थ्यो । ‘यसपटक क्रियाशील सदस्यता वितरणदेखि केन्द्रको गुट स्थानीय तहमा पुगेकाले समस्या बढेको छ,’ पाण्डेले थपे, ‘विधानले के भन्छ भन्दा पनि आफ्नो अनुकूल हुनेलाई सदस्यता दिने र प्रतिकूल हुनेलाई रोक्न खोज्ने रोग दुवै पक्षले गर्न थाल्छन् । यही लफडाले महाधिवेशनको मुखमा पार्टीभित्र विवाद बढ्ने गर्छ ।’
क्रियाशील सदस्यताको प्रभाव केन्द्रीय सभापति चयनमा समेत पर्ने भएकाले पनि नेताहरूको चासो र स्वार्थ तलैसम्म जोडिन पुगेको पाण्डे बताउँछन् । क्रियाशील सदस्यताले क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । तिनै क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्छन् । अहिले केन्द्रका नेताहरू नै आ–आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधिको बाहुल्य बढाउन लागिपरेका छन् । क्षेत्रीय प्रतिनिधि आफ्नो पक्षमा बढी ल्याउन सके महाधिवेशन प्रभावित पार्न सकिने स्वार्थ संस्थापन र इतरपक्ष दुवैमा छ ।
कांग्रेसले फागुन महिनादेखि नै क्रियाशील सदस्यता वितरण थालेको हो । वितरणमा धेरै विवाद देखिने भएकाले यसको टुंगो लाग्न निकै कठिन हुने कोइराला बताउँछन् । १३ औं महाधिवेशनमा क्रियाशील सदस्यताको टुंगो लगाउनै करिब एक वर्ष लागेको थियो । केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित समितिलाई विवाद मिलाउन करिब ६ महिना लागेको थियो । अहिले वितरण र नवीकरणको कार्य सुरु भए पनि कोभिड–१९ संक्रमणका कारण रोकिएको छ ।

 

Page 4
समाचार

महिना बित्यो, कारबाही भएन

- रमेशकुमार पौडेल

(चितवन) - चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट २१ वर्षीय छोराको मृत्यु भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै राप्ती नगरपालिका–२ मिलन टोल पिप्लेका विष्णुलाल चेपाङले चितवन प्रहरीमा उजुरी दिएको महिना दिन नाघेको छ । तर अहिलेसम्म उक्त घटनामा संलग्न कोही पक्राउ परेका छैनन् ।
मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने प्रतिबद्धता भए पनि उनीहरूले किरिया खर्चबापतको एक लाख रुपैयाँबाहेक अरू पाएका छैनन् । ‘पोस्टमार्टम रिपोर्ट भर्खर आएको छ । त्यसको पूरकका रूपमा अरू परीक्षण प्रतिवेदन आएको छैन । रगत र भिसेरा परीक्षण प्रतिवेदन आएपछि एउटा निचोडमा पुग्ने तयारीमा छौं,’ चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले भने । विष्णुलालले जिल्ला प्रहरी कार्यालयमा साउन ९ मा उजुरी दर्ता गराएका थिए । मृतक राजकुमारको पोस्टमार्टम काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा साउन १२ मा भएको थियो । भिसेरा परीक्षण प्रतिवेदन आएसँगै थप कारबाही प्रक्रिया अगाडि बढ्ने एसपी गुरुङले बताए ।
राजकुमारसहित मिलन टोलका पाँच युवा र दुई महिला साउन १ मा राप्ती नदी पार गरेर जंगलमा अमिलो खोज्ने, खोलामा माछा मार्ने र घोंगी टिप्ने योजना बनाएर निकुञ्जभित्र छिरेका थिए । ज्युडी खोलामा घोंगी टिप्दै गर्दा सेनाले उनीहरूलाई पक्राउ गरेको थियो । सो क्रममा पाँचै जना युवकमाथि कुटपिट भएको थियो । त्यसको साता दिनपछि साउन ८ मा राजकुमारको मृत्यु भएको थियो । कुटपिटमा संलग्नलाई कारबाही प्रक्रिया सुरु नगरेको र राहतको विषयमा
चित्तबुझ्दो प्रतिबद्धता नआएको भनेर परिवारले शव बुझ्न इन्कार गर्दै आएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा १० लाख रुपैयाँ राहत दिने र कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता आएसँगै परिवारले शव बुझेर साउन १८ मा सद्गत गरेको थियो । ‘राहत दिने भनेका छन् । त्यसका लागि बैंकमा खाता खोल्नुपर्दो रहेछ । छोरोको किरिया सकेपछि म खाता खोल्न कागजपत्र मिलाउनतिर लागें । उजुरीको बारेमा के भएको छ बुझ्न पाएको छैन,’ विष्णुलालले भने ।
मृतक राजकुमारकी श्रीमती रिपुमायाकै नागरिकता बनेको रहेनछ । नागरिकता नबनेपछि बिहे दर्ता गर्ने कुरै भएन । डेढ वर्षीया छोरी एलिनाको जन्म दर्ता पनि भएको थिएन । ‘छोराको मृत्यु दर्ता, बुहारीको नागरिकता बनाएर बिहे दर्ता र नातिनीको जन्म दर्ता गरेर बैंकमा बल्ल खाता खोलेको छु । राहत खातामा हाल्दिने भनेका छन्,’ विष्णुलालले भने, ‘यो काम सकेपछि उजुरी के भयो त्यो पनि हेर्नु छ । न्याय त पाउनै पर्छ ।’ उजुरीमाथि छानबिन गरेर न्याय दिन तदारुकता देखाउनुपर्ने र परिवारलाई उचित राहत दिनुपर्ने माग राखेर नेपाल चेपाङ संघले आन्दोलनसमेत गरेको थियो । ‘दिनका दिन बैठक र छलफलपछि सहमति भएको हो । १० लाख दिन्छौं, पिट्नेलाई कारबाही पनि हुन्छ भनेका हुन् । पत्याउनै पर्‍यो । त्यही पत्याएर हामीले आन्दोलन पनि रोकेका हौं,’ संघका जिल्ला सदस्य तथा राप्ती–२ वडा इकाइ अध्यक्ष सन्त चेपाङले भने ।
मृतकका परिवारलाई निकुञ्जले ७ लाख र राप्ती नगरपालिकाले ३ लाख गरी १० लाख रुपैयाँ दिने सहमति भएको थियो । निकुञ्जले लोथर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमार्फत किरिया खर्च भनेर १ लाख रुपैयाँ दिनुबाहेक परिवारले अरू पैसा अझै पाएको छैन । राप्ती नगर प्रमुख प्रभा बरालले नगरपालिकाले ३ लाख रुपैयाँ छिट्टै दिने बताइन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले परिवारलाई राहतको बाँकी रकम उपलब्ध गराउने तयारी भइरहेको बताए । तर कुटपिटमा संलग्नलाई कारबाही गर्नेबारे आफ्नो जानकारीमा नरहेको उनको भनाइ छ । कुटपिट प्रकरणपछि निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत नारायण रूखाखेतीको सरुवा भएपछि बराल चितवन आएका हुन् ।

 

समाचार

पुनःस्थापना केन्द्रमा एकै दिन २७ संक्रमित

- कान्तिपुर संवाददाता

काभ्रे– बनेपा नगरपालिका–१३ मा रहेको स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रका बिरामी र कुरुवा गरी २७ जनामा शुक्रबार कोरोना पुष्टि भएको छ । अहिलेसम्म उक्त अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, बिरामी र तिनका कुरुवा गरी ६४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
भदौ २ मा पहिलोपटक त्यहाँका एक कर्मचारीमा भदौ २ गते संक्रमण पुष्टि भएको थियो । उपत्यका छिर्ने प्रमुख नाका साँगा पर्ने उक्त वडामा शुक्रबार दिउँसोसम्म १ सय २ जनामा संक्रमण पाइएको छ । संक्रमण देखिएका संस्था र क्षेत्र सिल गरे पनि प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा कोरोना देखिइरहेको छ । सोही वडामा रहेको संघीय प्रहरी इकाई वाग्मतीका १९ जनामा कोरोना पुष्टि भएको थियो । हालसम्म जिल्लाका २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा ६४ जना, धुलिखेल अस्पतालमा ३१ जना र संघीय प्रहरी इकाई वाग्मतीका १९ समेत गरी २२ जना प्रहरीमा संक्रमण देखिएको छ । ५१ स्वास्थ्यकर्मी, ६६ सर्वसाधारण, ५२ जना अस्पतालमा उपचाररत बिरामी, २५ जना वैदेशिक रोजगारीबाट फर्केका, २ जनप्रतिनिधि र १/१ पत्रकार र वकिलमा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ८१ जना निको भएर घर फर्किएका छन् भने १ सय ३७ जना विभिन्न अस्पताल र होम आइसोलेसनमा छन् ।

समाचार

बाढीले १२ घरमा क्षति

- कान्तिपुर संवाददाता

धादिङ (कास)– खहरे उर्लेपछि ज्वालामुखी–४ दोभानटार बजारका एक दर्जन घरमा क्षति पुगेको छ । बिहीबार राति च्याडु खोलामा आएको बाढीले किनारका घरहरू जोखिममा परेका छन् । पुलमा रूख अडकेर पानीको बहावले दिशा फेर्दा बजारका घरमा क्षति पुगेको हो ।
केही घरका पिँढी र आँगन भास्सिएको छ भने झ्यालढोकासमेत बगाएको छ । सडकको पुल नाघेर बस्ती कटान गर्दै पसेको खहरेले अन्नपात र सरसामान बगाएको स्थानीयले बताए । खोला बगाएर ल्याएका काठपात र लेदो घरभित्र
भरिएको छ ।

Page 5
सम्पदा

लायकुको अन्तिम पर्खाल

- दीपक सापकोटा

अरनिकोले बनेपाको लायकुमा बनाएको नौतले दरबारकै नमुनामा चीनमा पनि एउटा दरबार बनाएका थिए ।’
किंवदन्ती बनेको बनेपाको लायकु, दन्त्यकथाजस्तै बनेका अरनिको ∕ अनि तिनै अरनिकोले लायकुको नमुनामा चीनमा पनि दरबार बनाएको मिथक–कथा ∕ म राति निदाउनुअघि जब सिरानीमा टाउको अड्याएर आँखा चिम्लन्थेँ, मेरो कल्पनामा जुँघाको रेखी बस्न थालेको १७ वर्षे कलाकार अरनिको र उसको पछिपछि लागेर हिमालपारिको विस्तीर्ण पठारमा हिँडिरहेका ७९ जना कालीगढहरूको लर्को देखा पर्न थाल्थ्यो । सपनामा पनि ती कलाकारलाई म बेइजिङको विश्वप्रसिद्ध श्वेतप्यागोडा बनाउन आफ्ना कुशल हात चलाइरहेको देख्थेँ । त्यो श्वेतप्यागोडा बनेपाको लायकु दरबारको नमुनामा बनेको थियो कि यो अप्रमाणित किंवदन्ती मात्र हो, त्यो भने अहिलेसम्म पनि अनिर्णीत नै छ ।
म एक महिनादेखि काभ्रेको व्यापारिक केन्द्र र पुरानो बजार बनेपाको आफ्नो घरमा बसेर लकडाउनको फुर्सदिलो समय कटाउने प्रयत्न गरिरहेको छु । र, यो लामो घरबन्दीले मलाई बनेपाकै लामो इतिहासमा घोत्लिन प्रेरित गरिरहेको छ । लायकु दरबारको कथामा वर्णन गरिएका अरनिको हजुरआमाले सुनाएका दन्त्यकथाका राजकुमारजस्तै हुन्थे । स्कुलमा मैले पढ्ने एउटा पुस्तकको ‘राष्ट्रिय विभूति’ शीर्षकको परिच्छेदमा अरनिकोमाथि लेखिएको थियो । स्कुल पढ्दा शिक्षकले अनौपचारिक कक्षामा ‘अनुश्रुतिअनुसार’ भन्दै सुनाएको लायकु दरबारको कथा पनि मेरो स्मृतिको भण्डारबाट बाहिर निस्केको छ र त्यसले मलाई सदियौं पहिलेको विशाल फलकमा पुर्‍याएर छोडिदिएको छ ।
सरले सुनाउनुभएको थियो, ‘हाम्रा कलाकार अरनिकोले चीनमा गएर बनेपाको नौतले दरबारकै नमुनामा त्यहाँ पनि एउटा भव्य दरबार बनाएका थिए ।’ (यहाँ स्मरणीय के छ भने नेपालभाषामा लायकु शब्दको अर्थ दरबार हो तर बनेपाको लायकुलाई नेपालभाषा र नेपाली दुवै नाम एकैसाथ राखेर सम्बोधन गर्ने चलन छ अर्थात् लायकु दरबार) ।
लायकु दरबारको विषयमा धेरै खोजबिन भएको छैन, लेखिएको पनि त्यति धेरै छैन । बनेपा क्षेत्रकै दुई विद्वान् केदारनाथ प्रधान र ज्ञानकाजी मानन्धरले आ–आफ्ना किताबमा लायकुका विषयमा केही खोजबिन भने गरेका छन् । इतिहासकार ज्ञानकाजी मानन्धरको किताब ‘बनेपा सातगाउँ’ मा यसरी अर्थ्याइएको छ, ‘लायकु भनेको राजकुल अथवा लालकुल हो । लालकुलबाट लायकु शब्दको व्युत्पत्ति भएको हो । लायकु शब्द मल्लशासनको मध्यकालदेखि चल्दै आएको पाइन्छ (पृष्ठ ६२) ।’
इतिहासकार महेशराज पन्तका अनुसार, संस्कृतको ‘राजकुल’ बाट अपभ्रंश भएर लायकु शब्द निर्माण भयो । राजकुलको अर्थ ‘राजाको दरबार’ हुन्छ ।
आज बनेपाली इतिहासकार प्राध्यापक केदारनाथ प्रधानका ‘नवीन दृष्टिमा नेपालको प्राचीन इतिहास’ (२०५४) र ‘बनेपाको ऐतिहासिक रूपरेखा’ (२०५६) पुस्तकले मेरो लकडाउन–बेलालाई प्राचीन कलाकर्मी र वास्तुकलाको परिवेशमा लगिदिए । संस्कृति–अध्येता सत्यमोहन जोशीको ‘कलाकार अरनिको’ (२०४४) शीर्षकको पुस्तकले अरनिकोले चीनमा बनाएको दरबारबारे भन्छ, बनेपाको लायकु दरबारमाथि स्पष्ट पार्दैन । तर, प्राध्यापक प्रधानले आफ्नो किताब ‘बनेपाको ऐतिहासिक रूपरेखा’ मा बनेपा र अरनिकोसम्बन्धी त्यो सन्दर्भलाई ‘अनुश्रुति’ भनी लेखेका छन् । उनी लेख्छन्, ‘यहाँ सुनिने एउटा अनुश्रुतिअनुसार अरनिकोले बनेपाको नौतले दरबारको नमुना चीनमा बनाएका थिए । तर, यहाँको दरबारको नमुना बनाइएको हो वा होइन भन्नेबारे थाहा पाइएको छैन (पृष्ठ ६३) ।’ तर, ज्ञानकाजी मानन्धर भन्छन्, ‘मैले यस्तो अनुश्रुति सुनेको छैन । यो श्रुतिलाई पुष्टि गर्ने प्रमाण पनि छैन ।’
अरनिको (विसं १३००–१३६३, अरनिकोको जन्ममिति किताबहरूमा फरक–फरक लेखिएको छ । यो मिति सत्यमोहन जोशीको किताब ‘कलाकार अरनिको’ अनुसार लेखिएको हो) ले चीनमा पुगेर बनाएका चिनियाँ सम्राट् ‘कुब्ला खाँ’ को पोर्ट्रेटलगायत अरू थुप्रै कलाकृतिका बारेमा विस्तृत वर्णन भेटिन्छ । तर, अरनिकोले बनेपाको प्राचीन ‘९ तल्ले लायकु दरबार’ को दुरुस्त नमुनाका रूपमा चीनमा कुनै संरचना बनाएका थिए भन्ने जुन जनश्रुति हाम्रो समाजमा युगौँदेखि चल्दै आएको छ, यसलाई ‘ओरल हिस्ट्री’ अन्तर्गत अब अभिलेखित गर्नु आवश्यक देखिन्छ ।
इतिहासकार प्रधानको निचोडसँग लायकु दरबारमाथिको मेरो कल्पना केही हदसम्म मिल्छ । प्रधानले लेखेका छन्, ‘लायकु दरबारको बीच भागमा हात्ती बाँध्ने मौलो, पश्चिमतिर स्नान गर्ने पोखरी, पश्चिम–दक्षिण कोणमा दुमाजुदेवीको मन्दिर, दक्षिणमा तल बगैंचा र पोखरी, माथि आवास, पूर्वी भागमा देवी–देवता रहने पूजाखण्ड, पूर्वी–दक्षिण कोणमा नृत्यघर र उत्तरमा प्रशासनिक खण्ड थिए । विसं २००७ मा प्रजातन्त्रको उदयपछि खेलकुद मैदान बनाउँदा दुमाजु मन्दिर र मौलो पुरिएका थिए ।’
प्रधानजस्तै लायकु दरबारमाथि ज्ञानकाजी मानन्धर लेख्छन्, ‘सुरक्षाका लागि ठूलो ढुंगाको पर्खालले घेरेर आठ दिशामा आठ पोखरी, आठ प्रवेशद्वार, आठ पाटी र आठ गणेशको स्थापना गरेर कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले निर्माण गरेको बनेपाको पश्चिमी ढोका पर्ने पर्खालभित्र लायकु दरबारको क्षेत्र छ । पहिले यहाँ सातवटा चोक थिए भन्ने बनेपाका बूढापाकाहरूको भनाइ छ (बनेपा सातगाउँ पृष्ठ ६३) ।’
अरनिकोसँग जोडिएको त्यो जनश्रुति मात्रै थियो कि इतिहासको यथार्थ–कथाकै पुनर्लेखन ? तर, श्रुतिअनुसार नै किन नहोस्, बनेपाको लायकु दरबारसँग अरनिकोको केही सम्बन्ध देखिन्छ ।
ज्ञानकाजी मानन्धरले बनेपाको लायकु दरबार ‘कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले निर्माण गरेको’ लेखेका छन् । यस कलिगत संवत्लाई विक्रम संवत्मा परिवर्तन गर्दा त्यो विसं ११५३ हुन्छ (इतिहासकार महेशराज पन्तको सहयोगमा परिर्वतन गरिएको । पन्तका अनुसार, कलिगत संवत् र विक्रम संवत्मा ३०४४ वर्षको फरक हुन्छ ।) अरनिको र राजा आनन्ददेवको समय एउटै हो त ? आनन्ददेव (विसं १२०३–१२२४ शासनकाल) अरनिको 
(विसं १३००–१३६३) भन्दा झन्डै १०० वर्षअघि राजा भएका हुन् । (पछिल्ला कालका वंशावलीका आधारमा दिइएको आनन्ददेवको शासन–समय तात्कालिक प्रमाणद्वारा पुष्टि हुँदैन ।) यस हिसाबले ‘आनन्ददेवले निर्माण गरेको’ बनेपाको लायकु अरनिकोले हेर्न पाएको हुन सक्ने सम्भावनाचाहिँ छ । तर, त्यसैको नमुनामा अरनिकोले चीनमा चैत्य बनाए कि बनाएनन् भन्ने कुरा यकिनका साथ भन्न सकिन्न । जे होस् श्रुतिपरम्पराका कथामा ऐतिहासिक आधार हुनसक्छ । यो थप अनुसन्धानको विषय हो ।
अरनिको जन्मिँदा काठमान्डु उपत्यकामा अभय मल्ल (वि.सं. १२७३–१३१२ शासनकाल) राजा थिए । अरनिको चीन जाँदा भने उपत्यकामा भीमदेव (विसं १३१५–१३२७ शासनकाल) राजा थिए । इतिहासअनुसार, ‘चीनको साक्या गुम्बाका संघनायक पाहसपाले चिनियाँ सम्राट् कुब्ला खाँको आदेशअनुसार नेपालबाट नाम चलेका, विभिन्न सीपमा पोख्त वास्तुविद् र शिल्पकार चीन पठाइदिनू भन्ने निमन्त्रणा विसं १३१७ मा नेपालमा पठाए । त्यसपछि अरनिकोको मातहतमा ७९ जनाको टोली चीनतर्फ गयो (जोशी, पृष्ठ ७) ।’ विसं १३३१ मा चीनमा अरनिको मुख्य हाकिम भएर काम गरिरहँदा अनन्त मल्ल (१३३१–१३६४ शासनकाल) काठमान्डु उपत्यकाका राजा थिए । इतिहासकार पन्तका अनुसार, त्यस बेला काठमान्डु उपत्यकामा देव र मल्ल थरका राजाहरूले पालैपालो राज्य सञ्चालन गर्थे । देव (लिच्छवि राजाकै सन्तान) हरूको रैथाने घर बनेपा थियो, मल्लहरूको रैथाने घर भक्तपुर थियो । मल्ल र देवबीच पालैपालो राजा हुने नियम बनाइएको थियो । (यहाँ उल्लेख भएका ऐतिहासिक तथ्य र तिथि–मितिका विषयमा विद्वान् महेशराज पन्तको सहयोग लिइएको छ ।)

स्कुल पढ्दाताका लायकुबारे शिक्षकले सुनाएका कुरा र लेखकद्वय प्रधान तथा मानन्धरले आ–आफ्ना पुस्तकमा गरेका लायकु–वर्णनले केही अभिभूत र केही अन्योलग्रस्त भएको म अहिलेसम्म सोही स्थितिमा छु । अहिले विद्यार्थीहरू ‘हु’ गर्दै कराते सिकिरहने, अनेक सांस्कृतिक, राजनीतिक कार्यक्रम भइरहने त्यो आँगनमा पहिले कस्तो दरबार थियो त ? मेरो कल्पनामा टेलिभिजनको श्यामश्वेत सिसाभित्र देखाइने गरेका हिन्दी टेलिशृंखला ‘महाभारत’ र ‘चन्द्रकान्ता’ का लागि बनाइएका दरबारहरूको चित्र आउँथ्यो । मेरो कल्पनाको क्यानभासमा मैले टेलिभिजनमा देखेको चित्रजस्तै थियो लायकु दरबार ।
करिब १० किलोमिटर पर पर्ने कुशादेवीबाट परिवारै बसाइँ सरेर आएको मसँग बनेपा सहरसँग जोडिएका अनगिन्ती सम्झना छन् । यहाँ चल्ने मोटर, चर्को स्वरमा कराउँदै बेतोड दौडिने आरएक्स बाइक देखेर सुरुसुरुमा त आत्तिएँ पनि । झमझम पानी परेको, चर्को घाम लागेको, कुहिरो लागेका दिनका सम्झना मस्तिष्कमा ओहोरदोहोर गरिरहन्छन् बेलाबेला । मोटरको चर्को स्वर यहाँ पहिले सुनिन्नथ्यो पक्कै, आरएक्स मोटरबाइक पनि यहाँ सधैँ दौडिँदैनन् । घाम र कुहिरो त युगौंदेखि छ । समयका अनेक रूपलाई लायकु दरबारको यस मैदानले साक्षात्कार गरेको छ । मलाई भने लायकु दरबारको इतिहासमा पस्नुअघि त्यही दरबार परिसरमा कुनै बेला सञ्चालित एउटा पुस्तकालयको याद टड्कारोसँग आउँछ ।

कुहिरो लागेको दशकअघिको कुनै दिन होला, म लायकु दरबारअघिल्तिर भएर एउटा अन्तर्वार्ताका लागि गइरहेको थिएँ (दक्षुटोलस्थित गोपालदास वादे श्रेष्ठ, नेपाली कांग्रेस पार्टीका पुराना नेताको घरतिर) । लायकु दरबारभित्रको पश्चिम दक्षुढोका (नाला जाने मूल बाटोतिर) मा एउटा जीर्ण इमारत (पक्की घर) उभिइरहेको थियो । त्यो घरको माकुराको जालोमा लपेटिएको बन्द घडी भित्तामै टाँस्सिएको थियो । र, आफ्नै धुनमा मग्न परेवाले चुच्चोमा च्यापिल्याएका परालका लामा–छोटा टुक्रा बन्द घडीमाथि थुपारिरहेका थिए । त्यो दृश्यले मलाई समयको नदीमा तैरिरहेको आफ्नै विगततिर पुर्‍याउँछ ।
लायकु दरबारको ढोकैमा एउटा मान्छे उभिएको थियो । त्यसको नजिक पुग्दा सडकमै समय बिताउने मान्छेको शरीरबाट आउने कडा गन्ध महसुस भयो । दरबार अघिल्तिरको सानो पसलमा भर्खरै उसले एउटा याक चुरोट किनेको थियो । त्यो मान्छेले एकदम मैलो, टाँकले धर्म छोडिसकेको सेतो सर्ट (सर्ट यति मैलो थियो कि त्यो रङ सेतो होला भन्ने अनुमान मात्र हो) र थोत्रो प्यान्ट लगाएको थियो । गोडामा फाटेको चप्पल थियो । मैला औंलाले मुलायम तरिकाले उसले ‘याक’ च्यापेको थियो । धेरै दिनदेखि ननिदाएजस्ता आँखाले उसले मलाई हेर्‍यो, चिन्ने प्रयास पो गर्‍यो कि ? उसको र मेरो त्यो पहिलो र अप्रिय भेट भएको समयदेखि अहिलेसम्म मेरो जीउडालमा यति धेरै परिवर्तन आएको थियो, उसले मलाई चिन्न नसक्ने कुरामा म ढुक्क थिएँ । तर, त्यस अनुहारसँग वर्षौं पहिलेको जुन नराम्रो याद मेरो मानसमा गुजुल्टिएर रहेको छ, त्यसलाई भने म बिर्सिन सक्दैनथेँ ।

लायकु दरबारको त्यही भग्न घरमा त्यस क्षेत्रकै अग्रणी शिक्षक तथा बनेपाका मेयर रामभक्त कोख श्रेष्ठको पहलमा खोलिएको एउटा सानो पुस्तकालय थियो । मैले जीवनमा पहिलोपटक देखेको पुस्तकालय त्यही हो । विक्रमको २०५० सालतिर खुलेको त्यस पुस्तकालयको नाम थियो– बनेपा पुस्तकालय ।
म पहिलोपटक २०५३ सालमा गएको त्यो पुस्तकालय थियो– बडो अव्यवस्थित र फोहोर पनि । नमिलाई राखिएका किताब भुइँभरि छरिएका, च्यात्तिएका किताबका पाना, नैनसुतमा पोको पारिएका पत्रपत्रिकाजस्ता लाग्ने कागज किताब राखिने र्‍याकमाथि थुपारिएका थिए ।
बनेपा पुरानो बजारका ‘यसो किताब हेरौं न त’ भनेर वा ‘पढौं न’ भनेर वा ‘घुमौं न’ भनेर वा ‘कसले के गर्छ वा पढ्छ’ चियो गर्ने भनेर साना–पाका सबै उमेरका मानिसहरू त्यहाँ आइपुग्दथे । स्कुल छुट्टीपछि वा शनिबार म पनि पुस्तकालय पुग्थेँ, कहिले साथीसँग त कहिले एक्लै । मैले त्यही पुस्तकालयमा भुइँमा फालिएको, पाना च्यातिएको थोत्रो अवस्थामा पहिलोपटक देखेको हुँ– महाकवि देवकोटाको ‘मुनामदन’ र माधव घिमिरको ‘गौरी’ । साथै त्यहीँ पहिलोपटक पढेको हुँ ‘हेन्सल एन्ड ग्रेटल’ को चित्रकथा । हेन्सल र ग्रेटलको कथा मलाई कति धेरै रोचक लागेको थियो भने म त्यसकै यादमा त्यहाँ बारम्बार जान थालेको थिएँ । त्यस दिन पनि म भाइ शैलेन्द्रसँग पुस्तकालय पुगेको थिएँ ।
हान्स क्रिस्चियन एन्डरसनको कुनै परिकथाको पानामा निमग्न भएर अल्झिरहेको थिएँ, कसैको निकै कडा मुड्की मेरो कलिलो टाउकोमा बज्रियो । टाउकोमा टुटुल्को उठ्ने गरी हानिएको त्यस ‘खौं’ ले मलाई पूरै रन्थन्याएर छोडिदिएको थियो । म डरले अत्तालिएको थिएँ र हातको परिकथा भुइँमै हुत्याएर म त्यस मानिसको टाङमुनिबाट भाग्न खोजिरहेको थिएँ तर म भाग्न सकेको थिइँन । उसले मलाई उचालेको थियो, गालामा थप्पड हानेको थियो र भुइँमा पछारिदिएको थियो । म डाँको छोडेर रुन थालेपछि ऊ एक शब्द पनि नबोली पुस्तकालयबाट बाहिरिएको थियो । शारीरिक र मानसिक पीडाले थङ्थिलो भएको म पनि एक छिनपछि संज्ञाशून्यझैँ त्यहाँबाट निस्किएको थिएँ । अनाहकमा पिटाइ खाएको मैले आइन्दा त्यस पुस्तकालयमा कहिल्यै नजाने निर्णय गरेको थिएँ ।

वर्षौंपछि कुहिरोको बाक्लो पर्दाबाट चिहाउन खोजिरहेको बनेपा पुस्तकालयभन्दा बाहिरपट्टि मैला औंलाले ‘याक’ चुरोट च्यापेर उभिएको त्यस मानिसलाई अचानक देख्दा म एकपटक त झसंग भएँ । तर, तुरुन्तै म सहज भएँ र उसलाई ध्यानपूर्वक हेरेँ ।
त्यो मानिससँग मलाई सोध्न मन थियो– त्यो दिन तपाईंले मेरो टाउकोमा खौं किन हान्नुभएको थियो ? त्यस दिन आफूले जोडले खौं हानेको त्यो केटोलाई के उसले सम्झेला ? मचाहिँ अहिले पनि त्यो अधबैंसे मानिसलाई आफ्ना मसिना औँलामा धुँवाइरहेको चुरोट मुलायम तरिकाले च्यापिरहेको देख्छु बेलाबेला । उसको खौं याद आएपछि शरीरमा पीडाजस्तो केही हुन्छ ।
मलाई मेरो बाल्यकालभरि त्रस्त बनाएको उसको अनुहार अहिले भने एकदम नै मामुली, कताकता टीठलाग्दो लाग्न थाल्यो । कुनै बेला मान्छेको टाउको खोजीखोजी खौं हान्न सक्ने बलियो मानिस अहिले कमजोर र निरीह बनेको छ । समय रहेछ बलियो । समय बलियो रहेछ पनि कसरी भन्नु र ? समय त एक कल्पित मापन मात्रै हो । बरु आयु हुँदो रहेछ समयको भनौं— मान्छे जन्मन्छ, तारुण्यमा बयली खेल्छ र प्रायः मक्किएको बूढो हाँगाबाट खस्छ । समय वा मानिस जन्मन्छन्, सामर्थ्यको त्रिकालमा विभाजित भएर अन्तिममा मर्छन् । कुनै बेलाको बलियो, सुन्दर र बडो रवाफका साथ उभिएको लायकु दरबार पनि त अहिलेको त्यो निरीह खौं–मानिसजस्तै अति दुःखी र निरीह छ । हिजो नजन्मेका मोटरका आवाज, बाइकको दौड आज मस्त जवानीमा छन्, ती पनि कुनै दिन मर्छन् । अनायासै नै मेरो ओठमा सायद बाङ्गो मुस्कानको एउटा धर्सो कोरियो ।

देशभरि लकडाउनको स्थिति कस्तो छ ? भारतसँग जोडिएका सीमा–नाकाहरूमा रोकिएका नेपाली नागरिकहरूले किन दुःख पाइरहेका छन् ? संसारभरि संक्रमितहरूको कुल संख्या कति भयो ? सरकार सम्भावित संकटसँग जुध्न सक्षम छ ? टेलिभिजन च्यानलहरूले यस्तै–यस्तै विषयमा समाचार र विचार सम्प्रेषण गरिरहेका छन् । सामाजिक सञ्जालहरूमा कोरोनाविद्हरूको ‘बिगबिगी’ चलिरहेकै छ । म भने अनुहारमा मास्क र हातमा स्यानिटाइजर लगाएर उही पुरानो प्रिय पुस्तकालयतिर जान भनी निस्किएँ । लायकु पुग्दा थाहा भयो, पहिले पुस्तकालय भएको त्यो भवनमा अहिले व्यायामशाला खुलेको रहेछ । अब त्यहाँ पुस्तक, पत्रपत्रिकाको सट्टा गठिलो ज्यान बनाउने सरजाम थुपारिएका थिए ।

साँघुरिँदै गएको बनेपामा साना केटाकेटी खेल्ने, अधबैंसे र उमेर पाकेका मानिसले योग–ध्यान गर्ने अलि चाक्लो, फराकिलो जमिन कहीँ देख्न पाइन्छ भने त्यो लायकु दरबारको परिसरमा हो । बनेपा प्राधिकरण चोकैनेर यसको ठूलै कम्पाउन्ड छ । त्यो घेराभित्रको पुरानो लामो भवनमा क्योकुसिन कराते–डो, योग केन्द्रजस्ता केही संस्था छन् । कुनै बेला त्यहाँ घरेलु शिल्पकला कारखाना हुने गर्थ्यो, जहाँ महिला बुनकरहरूले कपडा बुनिरहेको देख्न सकिन्थ्यो । अहिले त्यो कपडा कारखाना पनि बन्द भइसकेको छ ।
अचेल लायकु दरबार पनि त कहाँ छ र ? दरबारको चिह्नस्वरूप पुरानो इँटाको गारोको अवशेष छ । दरबारको चौघेराभित्रको चौरको छतको रूपमा फलामको ठूलै ट्रस बनेको छ । सरकारी स्कुलको ४ तले भवन पनि यही कम्पाउन्डभित्र छ । लायकुको यो कम्पाउन्डभित्र घाँस उम्रिएको, लेउ लागेको पुरानो संरचना छ दरबारको, इतिहास बोकेर बाँचिरहेको । त्यस संरचनाको बनोट, विन्यासले भनिरहेका छन्– यही हो मध्यकालको बनेपामा शासन गर्ने राजा रण मल्ल र उनका अग्रज अनि पछिल्लो पुस्ताको दरबार । ‘लिच्छविकाल, पूर्व मध्यकाल, उत्तर मध्यकाल, राणाकाल, सात सालको प्रजातन्त्र, पञ्चायत, छयालीस सालको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै देखे–भोगेको छ, लायकु दरबारको यो भग्नावशेषले’, बनेपाकै लेखक मोहन दुवाल भन्छन् ।

बनेपामा पाइएका शिवदेव र अंशुवर्माको (अहिले
संवत् फुटिसकेको) अभिलेखले यो क्षेत्र लिच्छविहरूको शासन–सीमाकै सहर थियो भन्ने बुझिन्छ । ‘बनेपा सहरको बीचमा सानो देवमन्दिरसँगै यस कुराको अभिलेख कुँदिएको ढुंगा छ । बनेपाको यस बस्तीको चाँगुनारायणसँग कुनै सम्बन्ध रहेको देखिन्छ (लिच्छविकालका अभिलेख, धनवज्र वज्राचार्य, पृष्ठ २४०) ।’
इतिहासकार प्रधानले लेखेका छन्, ‘भक्तपुरका राजा यक्ष मल्ल (विसं १४८५–१५३८ शासनकाल) को मृत्युपछि विसं १५३९ मा काठमान्डुजस्तै बनेपा पनि स्वतन्त्र राज्य बन्यो । र, यक्ष मल्लका साहिँला छोरा रण मल्ल स्वतन्त्र बनेपाका प्रथम राजा बने । रण मल्लको मृत्युपछि भक्तपुरका शासक सुवर्ण मल्लले बनेपालाई भक्तपुर राज्यमा गाभे । भक्तपुरका शासक रणजित मल्लको समयमा पनि बनेपाको महत्त्व उच्च थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले काठमान्डु उपत्यका जितिसकेपछि आफ्ना मीतबा भक्तपुरका राजा रणजित मल्ललाई बनेपाको ‘जागिर’ खाएर बस्न अनुरोध गरेका थिए । तर, रणजितको स्वाभिमानले त्यो अनुरोध स्वीकार गर्न दिएन । उनी पृथ्वीनारायणसँग अनुमति लिई काशीवास गर्न गए ।’
‘काठमान्डु उपत्यका तलाउका रूपमा छँदा बनेपा एक सानो राज्यका रूपमा थियो । बौद्ध आख्यानको थ्यासफूमा बनेपालाई धर्मपुर भनी उल्लेख गरिएको छ । धर्मपुरका राजा धनी थिए । राजा बस्ने भएकाले यहाँ राजदरबार अवश्य थियो । जयभीमदेव आदि प्राचीन मल्लकालका एकथरी राजवंशको मूल घर बनेपा थियो । उक्त राजवंश नेपालको इतिहासमा भ्वन्त अर्थात् बनेपाली भनी प्रसिद्ध थियो । लायकु दरबार मल्ल राजाहरूको ऐतिहासिक थलो हो (बनेपा सातगाउँ, मानन्धर, पृष्ठ ६१) ।’
इतिहास केलाउँदा बनेपामा जति शासक आए, तिनीहरूले लायकु दरबारबाटै शासन गरेका थिए भन्ने स्पष्ट हुन्छ । ‘भोंत’, ‘भोन्त’, ‘भ्वन्त’, ‘भोतदेश’, ‘बनियापुरी’, ‘बीलयापुरी’, ‘बनिकापुर’, ‘बन्दिकापुर’, ‘बणिकापुर’, ‘बणिकापुर महानगर’, ‘बनेपुर’, ‘बनिपा, ‘पनिपा’, ‘बनेपाग्राम’, ‘बनेपा’, ‘भुजुङ’ आदि अनेकौं नामले यस नगरलाई सम्बोधन गरिँदै आएको छ । आधुनिक कालमा नेपालमा आएका अंग्रेज सैनिक मिसनका कर्कपेट्रिकले बनेपुर, बनिपा वा पनिका भनी अशुद्ध उच्चारण गरेका थिए (प्रधान, पृष्ठ ४१) । जसरी उच्चारण गरिए पनि माथि उल्लिखित सबै शब्दले बनेपालाई नै जनाउँछन् ।
‘नेवारी भाषामा ‘बने’ शब्दले ‘व्यापार’ र ‘पा’ शब्दले ‘देश’ वा ‘बस्ती’ भन्ने बुझाउँछ । काठमान्डु उपत्यकाबाहिरका साँगा, नाला, धुलिखेल, चौकोट, खड्पु र पनौतीजस्ता सहरको बीचमा पूर्वी भेगको व्यापार–केन्द्र हुनाले यस सहरको नाम बनेपा रह्यो (स्थाननामकोश, कृष्णप्रकाश श्रेष्ठ, पृष्ठ २६४) ।’ कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले काभ्रे जिल्लामा छरिएर रहेका स–साना ७ सहर (बनेपा, पनौती, नाला, धुलिखेल, खड्पु, चौकोट र साँगा) मिसाएर एउटै राज्य बनाएका थिए भनी ‘बनेपा सातगाउँ’ किताबमा उल्लेख छ (ज्ञानकाजी मानन्धर, पृष्ठ १) ।
लायकु दरबारबाट बनेपाको मध्यकाल चियाउन खोज्दा हाम्रासामु ‘भोन्तश्री’ आइपुग्छन् । गोपालराज वंशावलीमा ‘भोन्तश्री’ भनी उल्लेख गरिएको छ । ‘भो देश’ नामको प्रयोग सर्वप्रथम वि.सं. १८३६ मा भएको पाइएको छ । मध्यकालमा देखिएको ‘वणिकापुरी’ नामको उल्लेख विसं १४९१ को बनेपा दक्षुटोलको ढुंगेधाराको सूर्यमूर्ति अभिलेखमा छ (प्रधान, पृष्ठ ४३) ।
प्रधान लेख्छन्, ‘भोन्तश्री राजकुलको मूलघर नै बनेपा भएकाले यता उनीहरूको दरबार थियो ।’ उनका अनुसार, धेरै पुरानो दरबार हो– लायकु, जहाँ भोन्तश्री राजकुलको निवास थियो र यहाँबाटै प्रशासनिक कार्य हुन्थ्यो । यो दरबारलाई वसन्तपुर दरबार पनि भनिन्थ्यो । ‘लायकु दरबार पूर्वमा दक्षुटोल पुलबाटोको कलधारादेखि दक्षिणको बाटो, पश्चिममा दक्षु ढोका, उत्तरमा बजारको मूल बाटो र दक्षिणमा कोलाँ टोलको मूलबाटोसम्म विस्तारित थियो (प्रधान, पृष्ठ ६२) ।’
आफ्नो पुस्तक ‘बनेपाको ऐतिहासिक रूपरेखा’ तयार गर्ने सिलसिलामा प्राध्यापक प्रधानले २०३४ सालमा अन्तर्वार्ता गरेका बनेपाका ८५–९३ वर्षका बूढापाकाहरू (गणेशदास प्रधान, विकुलाल कर्माचार्य र मोहनलालखिङ मानन्धर) ले उनलाई नौतल्ले त्यो लायकु दरबारको एक तलाको अवशेष आफैंले देखेको र तीन तल्लासम्मको अवशेषबारे देख्नेहरूबाट सुनेको बताएका थिए । अन्तर्वार्ताको यो प्रसंगबारे उनले किताबमा पनि उल्लेख गरेका छन् ।

हाल पुरानो दरबारको झल्को दिने कलात्मक
महादेव, गणेश र कलशको बुट्टा भएको ढोकाबाट भित्र प्रवेश गरेपछि पूर्वपट्टि देखिन्छ– सेतो रङले पोतिएको लायकु राजमञ्च । दक्षिण–पूर्वी कोणमा २०१८ सालमा निर्माण भएको शिक्षा सदन माध्यमिक विद्यालयको भवन छ । दक्षिणपट्टि छ– लायकु योग केन्द्र र नेपाल जुडोको कार्यालय । पुरानो दरबारका गारो र इँटाको भग्नावशेष भने अहिले पनि देख्न पाइन्छ ।
‘मैले देख्दा एक तलाको लायकु दरबार ढल्ला–ढल्लाझैं गरी उभिएको थियो । ०२२ सालतिर त्यही दरबार प्रांगणमा थियो– पुलिस चौकी । घरेलु शिल्पकलाको कारखाना पनि दरबारभित्रै थियो । पछि शिल्पकला बिक्री भण्डारले यही प्रांगणमा नयाँ भवन बनाएर काम गर्न थाल्यो,’ मोहन दुवाल सम्झन्छन् । लायकु दरबार ९० सालको भुइँचालोबाट भत्केको अनुमान दुवालको छ । अहिले दरबारको अवशेषको रूपमा मजबुत पुरानो गारो यथावत् छ, शिक्षा सदन स्कुललाई घेरेर बसेको । ‘शिक्षा सदन माविको भवनसँगै पहिले नै घरेलु शिल्पकला बिक्री भण्डारले दक्षिणपट्टि नयाँ भवन बनाएर दरबारको चारैतिर किल्लाहरू बनाइएको थियो र उत्तरमा पूर्ण किल्ला (क्वाथः) थियो (प्रधान, पृष्ठ ६३) ।’
पुराना कांग्रेस नेता गोपालदास वादे श्रेष्ठको मस्तिष्कमा पनि मोहन दुवालले देखेजस्तै दरबारको अस्तित्व छ, एक तलाको जीर्ण लायकु दरबार । ‘पछि संरक्षण नभएर त्यो त्यत्तिकै ढल्यो,’ गोपालदास भन्छन् ।

मेरो सहरले आफ्नो अनुहार फेरेको छ । प्रधानले किताबमा उल्लेख गरेको बनेपा स्वधाटोलको ‘मयजु फः दरबार’ र वकुटोलको ‘पुतली दरबार’ अहिले मिथका रूपमा मात्रै बाँकी छन् । स्वधाटोलमा अझै खेत खन्दा पुराना भवनका ठूला जग देखिन्छन् भन्ने किस्सा बाँकी नै छ । पूर्वमा पोखरी, पश्चिममा ढलँ छेँ, उत्तरमा काँथुगणेशको पोखरी र दक्षिणमा मूल बाटोसम्म पुतली दरबार विस्तारित थियो भन्छन् यहाँका बूढापाकाहरू । दरबारका पुराना केही अवशेष अझै पाइन्छ पनि भन्छन् ।
इतिहास, इमारत र स्थापत्य अब मिथक र किस्सामै बाँच्ने भए । पुराना पुस्तकालय, बाजे–बराजुका पसिनाले निर्मित नागबुट्टे ढुंगेधारा, पाटी, सहर र दरबारका आख्यान अब बनेपाका बूढा मानिसका मस्तिष्कका पत्रे चट्टान र पुराना पुस्तकालयका धूलो टाँस्सिएका किताबमा कतै जीवित छन् ।

एउटा सहरको यति लामो र गतिलो इतिहास बोकेको लायकु दरबारको संरक्षण पक्कै हुनुपर्ने थियो । ‘संरक्षण हुनुहुँदैन’ भन्ने मत सायदै कसैको होला । तर, संरक्षण गर्ने कसले ? मोहन दुवाल भन्छन्, ‘मैले धेरैपटक नगरपालिकाको मेयरसँग भनेँ, यही टोलको नेता मन्त्री भएका छन्, यसै मौकामा संरक्षणको लागि पहल गरौं न भनेँ, तर मेरो कुरा कसैले पनि सुनेनन् ।’ यही प्रांगणमा राखिएको ढ्वाङमा खसेको भोटले दुई नेता यहाँबाट मन्त्री भए । तर, उनीहरूलाई जागिर खाँदै फुर्सद भएन (सायद उनीहरू जागिर खानै वा जागिरका नाममा अरू केही ‘खान’ पो चुनाव लडेका थिए कि ∕) प्रधानले चर्चा गरेको बनेपाको प्राचीन लायकु दरबारको संरक्षण, संवर्द्धन र त्यसबारे अध्ययन गर्नका लागि मात्र होइन, दुवालले गरेको आग्रहमाथि सुनुवाइ गर्नुपर्ने कुराको खाँचो पनि आजका नेताहरूले देखेका छैनन् ।
लकडाउनको मेसो नहुँदो त म स्वयं पनि लायकु दरबारबारे यसरी घोत्लिँदैनथें कि ? दरबार र पुरानो समयको झल्को दिने सेता स्तम्भसहितको देवीदेउताको बुट्टा कुँदिएको ढोकाबाट लायकुको घेराभित्र चियाउँदा देखिन्छन्– लकडाउनकै बिदामा बसेका केटाकेटीहरू मस्त खेलिरहेका छन् । अनि, त्यहीँ छ– मानिसहरूको एउटा लामो लाइन । यो मानव–पंक्ति बनेपा नगरपालिकाको ८ नम्बर वडा समितिले दिने केही किलो राहत–चामलको लाइनमा उभिइरहेका श्रमिकहरूले बनेको छ । लायकु परिसरको वडा–कार्यालय भवनमा मानिसहरू भित्तामा टाँसिएको राहत लिस्टमा आफ्नो नाम खोजिरहेका छन् । जसको नाम भेटिन्छ उसको ओठमा एक पित्को मुस्कान नजानिँदो किसिमले देखापरेझैँ हुन्छ ।
कडा घाममा सुकेको लायकुभित्र छन्– केही रूख, चुपचाप ठडिएका, ती पनि घामले सुकेर हैरान छन् । जस्तो दरबारका पुरानो इँटाले बनेका प्राचीन समयको
चिह्नसहितका गारोहरू शताब्दीऔंदेखि घामले सुकेर दिक्क छन् । लकडाउनमा राहतको लाइनमा बसिरहेका मानिस पनि दिक्क छन्, उद्धारकै प्रतीक्षामा बसेको लायकु दरबारजस्तै । उद्धार गर, उद्धार गर भन्ने आवाजभित्र समेत फगत एउटा उपदेशबाहेक केही छैन । सबै राम्रा काम अरूबाटै होऊन् भनेर पर्खिरहनेको शब्दकोशमा कि उपदेश छ, कि त गाली मात्र शेष छ ।

 

Page 6
Page 7
Page 8
फिचर

नुनको (बै)गुन

- सुजित मैनाली

मरिमराउमा नुन बार्नुलाई सामान्यतः धार्मिक प्रचलन मान्ने गरिन्छ । पहाडी हिन्दुहरूले मरिमराउ र सुतक परेको बेला नुन बार्ने गर्छन् । नेवार, गुरुङ, तामाङ, राई, लिम्बू आदिले पनि मरिमराउमा नुन बार्छन् । झट्ट हेर्दा खसभाषी हिन्दुहरूको सिको गरेर पहाडी भेगका अन्य समुदायले पनि मर्दापर्दा नुन बार्न सुरु गरेका हुन्जस्तो देखिन्छ । नुन बार्ने अभ्यासलाई एमएन श्रीनिवासको ‘सस्क्रिटाइजेसन’ सम्बन्धी अवधारणाको आलोकमा व्याख्या–विश्लेषण गर्नु उपयुक्त हुन्छजस्तो पनि लाग्छ । तर, गडिएर हेर्दा नुनसम्बन्धी वर्जनाको नाभि धर्मसँग नभएर भूगोलबाट निःसृत संस्कृतिसँग गाँसिएको छ । नुन बार्नु अमुक धर्मको नभई ठाउँविशेषको चालचलन हो । यसबारे बिचार्दै जाँदा नेपालको खाद्य संस्कारमा नुनसँगै थपिएको गुन र बैगुनको समग्र चित्र हाम्रोसामु निर्मित हुन्छ ।

सामाजिक पाटो
खाद्य प्रचलन र योसँग गाँसिएको रोगको अध्ययन मूलतः चिकित्सा विज्ञानले गर्छ भन्ने आमधारणा छ । चिकित्सा विज्ञानसँग अन्योन्याश्रित रूपमा गाँसिएका जनस्वास्थ्यसम्बन्धी यस्ता विषयलाई सामाजिक आलोकमा पनि हेर्ने गरिन्छ । यस्तो अध्ययनलाई ‘मेडिकल सोसियोलोजी’ अर्थात् चिकित्सा समाजशास्त्र भनिन्छ । समाज एउटा चरणबाट अर्को चरणमा गुज्रिँदा नुनको खपत र यसले मानव स्वास्थ्यमा थप्ने गुन–बैगुनको हदमा पनि परिवर्तन आउने भएकाले नुनको सामाजिक पाटोबारे विमर्श गर्नु आवश्यक छ । तर, यस विषयमा हामीकहाँ खासै चर्चा भएको छैन ।
सामाजिक आधारमा रोगको वर्गीकरण गर्ने हो भने सरुवा रोग (हैजा, झाडापखाला, टाइफाइड आदि) लाई मूलतः गाउँले रोग र दीर्घरोग (उच्च रक्तचाप, डायबेटिज, क्यान्सर आदि) लाई सहरी रोग मान्नुपर्ने हुन्छ । ग्रामीण भेगमा सरुवा रोगले र सहरबजारतिर दीर्घरोगले बढ्ता मानिसको ज्यान लिने गर्छन् । रोगका यस्ता सामाजिक पक्षबारे अमेरिकी लेखक जेरेड डायमन्डले आफ्नो किताब ‘द वर्ल्ड अन्टिल यस्टर्डे’ मा विवेचना गरेका छन् । किताबको ‘सल्ट, सुगर फ्याट एन्ड स्लोथ’ अर्थात् ‘नुन, चिनी, बोसो र आलस्य’ शीर्षकको अध्यायमा उनले कुनै बेला गुनैगुनको भकारी मानिने नुन सहरबजारतिर बैगुनको पर्याय बन्दै गएको यथार्थतर्फ प्रकाश पारेका छन् । सामाजिक पक्षसँग जोडिएको नुन खपतको प्रवृत्तिबारे विवेचना पनि गरेका छन् । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नुनको बदलिँदो खपतले मानिसमा उच्च रक्तचाप, हृदयाघात, मुटु र मिर्गौलासम्बन्धी समस्या, पेटको क्यान्सर, टाइप–टु डायबेटिज आदि निम्त्याइरहेको यथार्थबारे पनि उनले साङ्गोपाङ्गो विश्लेषण गरेका छन् ।
डायमन्डको निष्कर्ष छ, ‘भौतिक रूपमा समाज विकसित हुँदै जाँदा नुनमा सबैको सहज पहुँच सुनिश्चित हुँदै जान्छ । यसबाट नुनको खपत बढ्न पुग्छ । गाउँको तुलनामा सहरमा दीर्घरोगी बढी पाइनुको एउटा प्रमुख कारण यही हो । सहरमा सबै प्रकारका खाना बाह्रै मास पाइन्छन् । खाद्य असुरक्षा बढ्ता हुने गाउँबाट सहर छिरेको मानिसले बढी खाना खान्छ । खानाको मात्रा बढेसँगै नुनको खपत पनि बढ्न पुग्छ ।’ विश्वका विभिन्न ठाउँमा भएका अनुसन्धानहरूको हवाला दिँदै उनले सहरमा पुस्तौँदेखि बसिआएका मानिसको तुलनामा भर्खरै सहरतिर बसाइँ सरेका मानिसले नुन खपत बढी गर्ने र दीर्घरोगले पनि त्यस्तै मानिसलाई बढ्ता च्याप्ने निष्कर्ष सुनाएका छन् । अर्थात्, परम्परागत जीवनबाट जसै समाज सहरी जीवनतिर फड्किन्छ, तसै नुनको खपत बढ्न गई अनेकखालका दीर्घरोग निम्तिन्छन् ।
किताबमा डायमन्डले संसारमै सबैभन्दा कम नुन खाने ब्राजिलको यानोमामो इन्डियनहरूको खाद्य संस्कारसँग अमेरिकी खाद्य संस्कारको तुलना गरेका छन् । अमेरिकी सहर लस एन्जलसको एउटा रेस्टुरेन्टले एउटा ‘नुडल्स कम्बो’ मा हाल्नेजति नुनले एक जना यानोमामो इन्डियनलाई एक वर्ष तीन दिनसम्म पुग्ने तथ्य प्रस्तुत गरेका छन् । नेपाल पनि तीव्र सहरीकरण भइरहेको मुलुकमध्येमा पर्छ । विदेशी खाद्य संस्कार यहाँ प्रबल बन्दै छ । योसँगै खासगरी सहरवासीमाझ उच्च रक्तचाप, डायबेटिज, क्यान्सरजस्ता दीर्घरोग पनि बढ्दै छ । यस्तोमा नुन खपतलाई केन्द्रमा राखेर नेपालको बदलिँदो खानपान र यसले जनस्वास्थ्यमा पारिरहेको असरबारे विमर्श गर्नु सामयिक हुन्छ ।

मूल्यवान नुन
यातायात, सञ्चार र बैंकिङ सञ्जाल अत्यन्तै सीमित रहेको परम्परागत समाजमा उत्पादन र प्रशोधन हुने ठाउँबाट नुन अन्यत्र पैठारी गर्न निकै अप्ठेरो हुन्थ्यो । त्यतिबेला नुन मूल्यवान वस्तु ठहरिने गर्थ्यो । यो कुरा राणाकाल अन्त्य नहुन्जेलसम्म सरकारी कर्मचारीलाई नियुक्ति, सरुवालगायत गर्दा जारी गरिने सरकारी कागजपत्रमा ‘नुनको सोझो गर्नु’ भनी लेखिएको विवरणले पनि स्पष्ट गर्छ ।
पृथ्वीनारायणको ‘दिव्यउपदेश’ मा पनि बफादारिताको अर्थमा नुनबारे तीनवटा प्रसंग उल्लेख छन् । पहिलो, ग्यामी अर्थात् जयन्त रानालाई पृथ्वीनारायणले काठमाडौंको सेवा गर्न छोडेर आफ्नै थातथलो गोरखाको पक्षमा आइज भन्दा जयन्तले ‘जयप्रगास मल्लको नुन षाईहाल्यां मरिमेट्न्याछु’ भनी ठाडै अस्वीकार गरेको प्रसंग । दोस्रो, ‘आफ्ना ष्वामित्को नुन्को उधार गर्नु’ भनी पृथ्वीनारायणले भारदारहरूलाई भनेको प्रसंग । तेस्रो, ‘पांडे बस्न्यात पंथ भैयाद मग्र...ई मेरा नुन् गुन्का स्वझा सेवक हुन्’ भनी पृथ्वीनारायणले नै भनेको प्रसंग । यसले त्यतिबेला राज्यको सेवा गरेबापत हासिल हुने पारितोषिकको पर्याय नुन थियो भन्ने देखाउँछ । हुन पनि नुन र पारितोषिकबीचको सम्बन्धको इतिहास छुट्याउनै नमिल्ने खालको छ । प्राचीन रोममा सैनिकहरूलाई ज्यालाबापत नुन अर्थात् ‘सल्ट’ को पोको दिने गरिन्थ्यो । यसरी दिइने ‘सल्ट’ बाटै प्रकारान्तरमा ‘स्यालरी’ अर्थात् तलब शब्दको व्युत्पत्ति भएको हो ।
नुनको खानी समुद्रसँग सीमा जोडिएको रोममा त नुन त्यति मूल्यवान थियो भने नुनको खानी खासै नभएको नेपालमा यो कुनै बेला कति दुर्लभ थियो होला भनि सहजै अनुमान लगाउन सकिन्छ । सहज रूपमा उपलब्ध नहुने भएकाले नै मरिमराउमा नुन नचल्ने संस्कार नेपालमा संस्थागत भएको हो । पहाडबाट हामी जति तलतिर झर्छौं, मृत्यु संस्कारमा नुन वर्जित गर्ने चलन उति नै हराउँदै जान्छ । मधेसमा दागबत्ति दिने (जेठो) छोरो र उसकी पत्नीले मात्रै नुन बारे पुग्छ । भारतका प्रायः हिन्दुहरूले मरिमराउमा नुन चलाउँछन् । बेसारचाहिँ बार्छन् । यसबाट मरिमराउ र सुतकमा नुन बार्ने चलन धर्मसँग नभएर ठाउँविशेषको रहनसहनसँग गाँसिएको छ भन्ने स्पष्ट हुन्छ ।
नुन वर्जित हुने यस्तोखालका संस्कार भएका ठाउँमा नुनको महत्त्व अन्यत्रभन्दा बढ्ता हुनु स्वाभाविक हो । नुन हत्तपत्ति नपाउने मानिसका लागि स्वादको पर्याय भनेकै नुन हो । यो कुरा आफन्तको शव दहन गरेर कोरामा बसेको नेपालीले अझ राम्रोसँग बुझ्न सक्छन् । परिवारको आत्मीय व्यक्ति मरेको बेला स्वाद त्याग्नु सामन्य हो । स्वाद भनेकै नुन हो भनी बुझिने नेपालमा मरिमराउमा नुन बार्नुको एउटा कारण पनि यही हो । यसको आर्थिक कारण पनि छ । मरिमराउ भएको घरमा कुटुम्बेरी र आफन्तको ताँती लाग्ने गर्छ । सबैलाई नुन हालेर भोजन गराउन साध्य हुँदैन । त्यसैले मरिमराउ भएको गृहस्थीलाई राहत दिन भनेर काजकिरिया नसकिएसम्म बन्धुबान्धवहरूलाई नुन खान वर्जित गरिएको हो । समुद्रसँग सीमा जोडिएको भारतमा नुन सहजै उपलब्ध हुने भएकाले मरिमराउमा नुन वर्जित गर्ने चलन चलाउन त्यहाँ आवश्यक नठानिएको हो ।

प्रमुख आयात
उपनिवेशकालताका भारतमा नुन संकलन र बिक्रीमाथि बेलायतीहरूको एकाधिकार सुनिश्चित हुनेगरी कानुन बनेपछि त्यसको विरोध गर्दै महात्मा गान्धीले भनेका थिए, ‘हावा र पानीपछि जीवनलाई सबैभन्दा बढ्ता चाहिने कुरा सम्भवतः नुन नै हो । गरिबहरूको मरमसला भनेकै नुन हो ।’ नुन खानी ठ्याम्मै छैन भन्दा पनि फरक नपर्ने नेपालका भान्छाघरमा भारतीय परिवेशमा गान्धीले भनेका यी कुराको मर्म पनि उत्तिकै सान्दर्भिक छ ।
विगतको समयमा नेपालमा आयात हुने प्रमुख सामाग्री नुन थियो । लिच्छविकालमा भारतसँग नेपालको व्यापार बढ्ता हुने गर्थ्यो । नरेन्द्रदेवको पालामा भोटसँगका हिमाली नाकाहरू सहज बनाइएपछि भोटसँगको व्यापार क्रमशः उकालो लाग्दै गयो । समयक्रममा भोटसँगको व्यापारले भारतसँगको व्यापारलाई ओझेल पारिदियो । मल्लकालसम्म आइपुग्दा भोटसँगको व्यापार चरमचुलीमा पुग्यो । त्यतिबेला भोटबाट नेपालतिर मूलतः नुन आयात हुने गर्थ्यो । नेपालबाट चाहिँ भोटतिर चामललगायत खाद्यान्न पैठारी गरिन्थ्यो ।
नेपालमा नुन खानी हुँदै नभएकाले चाहिएजति सबै नुन भोटबाट ल्याउनुपरेको चाहिँ होइनन् । बहादुर शाहको मुख्तियारीकालमा काठमाडौं आएका इस्ट इन्डिया कम्पनीका कर्णेल विलियम कर्क प्याट्रिकले काठमाडौं उपत्यकाको उत्तरी भेग (?) मा नुनको सानो खानी रहेको बताएका छन् । त्यहाँ उत्पादित नुनलाई उपत्यकावासीले भोटे नुन जति महत्व दिने नगरेकाले उपत्यकालाई चाहिने सबै नुन भोटबाटै आउने गरेको उनले लेखेका छन् । मुस्ताङ क्षेत्र जुम्ला राज्यअन्तर्गत छँदैदेखि त्यहाँका खानीबाट नुन झिकिएका प्रमाण भेटिएका छन् । शाह राजाको पालामा मुस्ताङ नेपालमा गाभिएपछि त्यहाँका खानीबाट नुन झिक्न थालिएको थियो, जसबारे महेशराज पन्त र पियर्स एच. फिलिपले संयुक्त रूपमा तयार गरेको मुस्ताङ र त्यसवरिपरिका क्षेत्रसम्बन्धी शाहकालीन प्रशासनिक दस्तावेजहरूको संग्रहमा रहेका केही लिखतले प्रकाश पारेका छन् ।
मुस्ताङका नुन खानीबाट चन्द्रशमशेरको पालामा पनि नुन झिकिएको थियो । त्यसको करिब सय वर्षअघिदेखि मर्स्याङ्दी नदीको किनारमा रहेका खानीमा नुन प्रशोधन गर्ने गरिन्थ्यो । तर, चिसो तापक्रम र इन्धनको अभावका कारण त्यहाँबाट नुन निकाल्न अप्ठेरो पर्ने गरेको प्रसंगबारे चन्द्रशमशेरको समयमा प्रकाशित किताब ‘नेपाल’ मा पर्सिभल ल्यान्डनले लेखेका छन् । नेपालका खानीबाट उत्पादन हुने नुनको मात्रा असाध्यै कम हुने भएकाले यतिबेला पनि नुनका लागि नेपालले भोटसँगै निर्भर रहुनपरेको उनले उल्लेख गरेका छन् ।
भोटबाट आयात हुने सामग्रीमध्ये नुन कति महत्त्वपूर्ण थियो भन्ने कुरा नुनलाई लिएर नेपाल र भोटबीच भएका विवादका शृङ्खलाले पनि स्पष्ट गर्छन् । मल्लकालताका भीम मल्लले भोटमाथि विजय हासिल गरेपछि दुई देशबीच भएको सन्धिमै एक रुपैयाँमा तीन पाथी नुन सटही हुनेगरी दरभाउ तोकिएको थियो । सन्धिमै दरभाउ तोकिएको नुनले द्विपक्षीय व्यापारमा कत्रो ठूलो अर्थ राख्दो रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ । बहादुर शाहको मुख्तियारीकालमा नेपाल र भोटबीच युद्ध हुनुको एउटा कारण नुन पनि थियो । नेपालतिर पैठारी हुने नुनमा भोटले धूलो मिसाएको र एकतर्फी रूपमा नुनको मूल्य बढाएको आरोप नेपालले लगाउँदै आएको थियो । योलगायत अन्य केही विवादित विषय सुल्झन नसकेपछि नेपालले भोटमाथि हमला गरेको थियो । लियो इ. रोजले पनि भोटले एकतर्फी रूपमा तय गर्ने नुन र चामलबीचको ‘असमान’ विनिमय दरलाई लिएर नेपालसँग उसको विवाद परिरहने गर्थ्यो र यो क्रम भारतबाट नुन भित्रिने क्रम सुरु नभएसम्म जारी रह्यो भनी लेखेका छन् ।

नुनको (अ)सहजता
नेपाल र भोट जोड्ने बाटो अत्यन्तै अप्ठेरो भएकाले नेपाली भान्छासम्म भोटे नुन ल्याइपुर्‍याउनु कष्टसाध्य थियो । सहजै प्राप्त नहुने वस्तु भएकाले नुनलाई अत्यन्तै फारु गरेर चलाउनुपर्थ्यो । ज्वाइँचेला आउँदा मात्र नुनको पोको धक नमानीकन फुकाउने गरिन्थ्यो । कुनै बेला नेपालमा खसीको मासु खान बडादशैं अथवा चैते दशैं कुर्नुपरेजस्तै नुन राम्रोसँग लागेको तिउन र झोल खान ज्वाइँचेला पाहुना भएर आउने दिन कुर्नुपर्थ्यो । अरू बेला आधा विलिनो तिउन र झोलमै मानिसले आफूलाई अभ्यस्त तुल्याउनुपर्थ्यो ।
भोटबाट नुन कसरी ल्याइन्थ्यो भन्ने विवरण पढ्दाखेरि हल्का नुन हालेको तिउन खान पाउनुलाई पनि त्यतिबेला सौभाग्य मान्नुपर्ने अवस्था रहेछ भन्ने देखिन्छ । भोटे नुन ल्याउने तरिकाबारे सोधखोज गरेर कर्क प्याट्रिकले तयार गरेको विवरणमा भनिएको छ, ‘चारैतिर हिउँले छपक्कै छोपेको (हिमाली भेगका) ठाउँमा पनि सुरक्षित भएर बाटो पहिल्याउन चौरी र च्यांग्रा सिपालु हुन्छन् । यही कारणले गर्दा जाडो मौसममा हिमाल पार गर्न यात्रुहरूले यिनलाई पथप्रदर्शक बनाउने गर्छन् । भारी बोक्ने अथवा बाटो देखाउने सवालमा तिब्बती भेडाहरू च्यांग्राभन्दा कम हुँदैनन् । त्यसैले भोटेहरूले नेपालमा आपूर्ति गर्ने सबै नुन यिनैलाई बोकाउँछन् ।’ कर्क प्याट्रिकपछि नेपाल आएका फ्रान्सिस बुखानन ह्यामिल्टनले तयार गरेको यससम्बन्धी विवरण अझ विस्तृत छ, ‘नेपालमा... नुन एउटा तालबाट ल्याइन्छ भनिन्छ, जुन काठमाडौंको उत्तरमा पर्छ र जहाँ पुग्न ब्रह्मपुत्र (को मुहान) बाट १५ दिन यात्रा गर्नुपर्छ । ठूलाखालका भेडामा लदाएर नुन नेपालसम्म ल्याउने गरिन्छ । ती भेँडामध्ये धेरैको चारवटा सिङ हुन्छन् । सिन्धु, गंगा र ब्रह्मपुत्र नदीको मुहानतिरका ठाउँमा भारी बोकाउन प्रायः यस्तै भेँडा प्रयोग गर्ने गरिन्छ ।’
रणोद्दीपसिंहको हत्या गरेर श्री ३ महाराज बनेका वीरशमशेरले अंग्रेजहरूको साखुल्ले बन्न र नुन व्यापारमा एकाधिकार जमाएर कुस्त कमाउन भनेर भोटबाट नुन ल्याउन प्रतिबन्ध लगाए । भारतबाट नुन ल्याउने कामको जिम्मा उनले भागवतभक्त माथेमालाई लिए । भागवतभक्त सहिद धर्मभक्त माथेमाका हजुरबुबा हुन् । तर, अनेक कारणले भोटे नुनको आयातमा प्रतिबन्ध लगाउन सम्भव भएन । चन्द्रशमशेरको पालामा भोटसँगको सम्बन्ध बिग्रिँदा नेपालले भोटमाथि चढाइँ गर्ने मनस्थिति बनाएको थियो । भोटसँग कदाचित युद्ध भएमा भोटे नुनको आयात अवरुद्ध हुनसक्ने देखेर चन्द्रशमशेरले भन्सार शुल्क घटाउनेलगायत अग्रसरता लिएर भारतबाट हुने नुन आयातलाई प्रवर्द्धन गरेका थिए ।
भोटे नुनको सट्टा भारतीय नुनतर्फ नेपालका शासकहरूले अभिरुचि देखाइरहँदा भारतसँग जोडिने सडकहरू क्रमशः सहज बन्दै गए । यसले नेपालमा नुनको आपूर्ति तुलनात्मक रूपले सजिलो बन्दै गयो । नुन अब हिजोको जस्तो दुर्लभ रहेन । तर, यो कुरा बाटोघाटोको सहज पहुँच भएका सुगम ठाउँको हकमा मात्र लागू भयो । राणाशाहीको अन्त्यपछि दुर्गम पहाडी भेगका मानिसहरूलाई नुन पहिलेकै जस्तो सहजसँग अप्राप्य नै रह्यो । ती भेगका मानिसले नुनका लागि भोटको सट्टा भारततिर निर्भर हुनुपर्‍यो । यसले भान्छासम्म नुन ल्याइपुर्‍याउने उनीहरूको झ्याउलोलाई उति धेरै सहज पार्नचाहिँ सकेन ।
त्यस अवधिमा दुर्गम पहाडवासीहरूले भारतीय नुन कसरी ल्याउँथे भन्नेबारे टोनी हागनको आँखोदेखा वर्णनमा भनिएको छ, ‘गाउँका हरेक घरले आफ्ना लागि चाहिने नुन आफैले ल्याउनुपर्थ्यो । यसका लागि वर्षमा एकपटक हरेक घरबाट कम्तीमा एक जना मानिस कृषिउपजको भारी बोकेर नुनसँग सटही गर्न भनि भारततिर झर्ने गर्थे । त्यसअघि तिब्बततिर पनि त्यसैगरी पुग्थे । मानिसका लागि त्यस्तो ‘नुन यात्रा’ उत्साहवर्द्धक हुन्थ्यो । सबै जनाले आफूसँग भएका राम्रा लुगा लगाउँथे । महिलाहरू परम्परागत पोसाकमा सजिन्थे । दसदेखि पन्ध्र जनाको समूह बनाएर सबै जना सँगै निस्किन्थे । अघिल्लो वर्ष त्यस्तै यात्रामा निस्किएका समूहका पाका सदस्यहरूलाई खाना पकाउन चाहिने पानी र दाउरा कुन ठाउँमा पाइन्छ, कुन ठाउँमा रात बिताउन उपयुक्त हुन्छ भन्ने थाहा हुन्थ्यो । उसो त उनीहरूलाई कुन ठाउँमा ठिटीहरूले छ्याङ ख्वाउँछन् भन्ने पनि थाहा हुन्थ्यो... त्यस्तो यात्रा दुई अथवा आठ सातासम्म जारी रहन्थ्यो ।’
राणाशाहीको अन्त्यपछि पनि भोट अथवा भारतबाट नुन ल्याउनु विकट पहाडी भेगका मानिसका लागि कम चुनौतीपूर्ण थिएन । बाटोमा पानी परेमा नुन पग्लिएर सखाप हुन्थ्यो । खोलानाला तर्दा उत्तिकै होसियारी अपनाउनुपर्थ्यो । पानीबाट नुनको धोक्रो जोगाउन त्यतिबेलाका मानिसले उपाय निकालेका थिए । खसीबोकाको छाला काडेर धोक्रो बनाई त्यसमा भरेर बढो कष्टका साथ भान्छाघरसम्म नुन ल्याउने गरिन्थ्यो । त्यति कठिनाइ बेहोरेर ल्याएको नुन धीत मरुन्जेल छर्किँदै खानु राजर्षि ठाँटभन्दा कम थिएन ।

फेरिँदो खानपान
नेपाल र भारतबीचको सडक यातायात सहज भएपछि नेपालमा भनेजति नुन सजिलै आउन थाल्यो । सहरी अर्थतन्त्रको प्रभाव बढेसँगै मानिसहरूको किनमेल गर्न सक्ने क्षमता पनि बढ्दै गयो । नुनको खरिद र खपतमा यसको प्रत्यक्ष प्रभाव पर्‍यो ।
सहरी अर्थतन्त्रको प्रभाव बढ्दै जाँदा गाउँबाट सहरतिर बसाइसराइ गर्ने मानिसको संख्या पनि बढ्दै जान्छ । गाउँमा पनि सहरिया खानपान, रहनसहनको प्रभाव पर्छ । यी कुराहरूलाई विचारेर डायमन्डले नुनको अभावसँग अभ्यस्त मानिसहरू नुन र खाना सहज रूपमा उपलब्ध हुने परिवेशमा आएपछि उनीहरूको खाद्य संस्कारमा कस्तोखालको परिवर्तन आउँछ भनी विभिन्न ठाउँका उदाहरणसहित बेलिविस्तार लगाएका छन् । लहराबाट टिपेर काक्रो र बारीबाट उखेलेर मुला खाने गाउँले जसै सहर पस्छ, उसले सलादमा नुन छर्किएर खान थाल्छ । सहरमा खाद्य असुरक्षा नहुने भएकाले र त्यहाँ उसको हातमा पैसा पनि हुने भएकाले उसले खाने परिकारहरूको संख्या पनि बढ्छ । योसँगै नुनको खपत पनि बढ्न पुग्छ ।
खाद्य असुरक्षा बेहोर्नुपर्ने गाउँबाट भर्खरै सहर पसेको मानिसले बफे पार्टीमा आफ्नो प्लेटमा खानाको ससानो पहाड नै खडा गरेको हुन्छ । अनेकन खाद्य परिकार खान गाउँतिर पाइँदैन । यस्तोमा पाएको बेला सबै खाना अघाउजी खाने प्रयत्न उसले गर्छ । विपन्न मानिसले बढी खाना खानुमा पनि यस्तै मनोविज्ञान जिम्मेवार छ । सहरिया मानिसहरू खानाको सहज उपलब्धतासँग अभ्यस्त हुने भएकाले उनीहरूको प्लेटमा थोरै अन्न, केही टुक्रा माछा र सलाद मात्र हुन्छ । यस्तै कारणहरूतर्फ औंल्याएर डायमन्डले गाउँबाट भर्खरै सहर पसेका मानिसको नुन खपत बढ्ने र उनीहरू दीर्घरोगको सिकार हुने जोखिम बढ्ता हुने गरेको बताएका छन् ।
सहरवासीलाई दीर्घरोग बढी लाग्नुको अर्को कारण घरबाहिर खाना खाने बढ्दो चलन पनि हो । रेस्टुरेन्ट र सपिङ मलमा पाइने खाद्य परिकारलाई स्वादिलो बनाउन भनेर तिनमा नुन बढ्ता हालिएको हुन्छ । रेस्टुरेन्टमा दिइने परिकार, सपिङ मलमा पाइने टिनबन्दी अन्न र मासु, बेकरी आइटम, चिप्स आदिमा नुनको मात्रा बढी हुन्छ । यस्तो हुनुका केही कारणबारे डायमन्डले चर्चा गरेका छन् । नुन हालेकै भरमा सस्तो सामग्रीलाई स्वादिलो बनाएर महँगोमा बेच्न व्यापारीलाई सम्भव हुन्छ । बढी नुन हाल्दा मासुको वजन २० प्रतिशत जतिले बढ्ने भएकाले यसबाट उत्पादकलाई अतिरिक्त फाइदा हुन्छ । बढी नुन खाँदा तिर्खा लाग्छ । स्न्याक र प्रोसेस्ड खाना उत्पादन गर्ने कम्पनीहरूले नै सफ्ट ड्रिंक र पानी उत्पादन गर्ने भएकाले खानामा बढी नुन हाल्दा उनीहरूलाई दोहोरो फाइदा मिल्छ । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ समयक्रममा फेरिएको हाम्रो जिब्रो हो । नुनिलो चीज खान अभ्यस्त भएका हामी कम नुन हालिएको खाना रुचाउँदैनौं । यसले विक्रेताहरूलाई हाइसन्चो भएको छ । डायमन्डले उल्लेख गरेका यस्ता विवरण तीव्र सहरीकरण बेहोरिरहेको नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक छ ।
सहरीकरण र नुनको सहज उपलब्धताका कारण नुनको खपत निरन्तर बढ्दै जानु जनस्वास्थ्यका हिसाबले चिन्ताको विषय हो । नुनको बढ्दो खपतका कारण संसारभरिका सहरवासीहरू दीर्घरोगको सिकार बन्ने क्रम बढ्दो छ । सहरका मानिसहरूको मृत्यु हुने कारणमध्ये नुनको बढ्दो खपतसँग जोडिएका उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग प्रमुख छन् । त्यसैले चिकित्सा विज्ञानदेखि समाज विज्ञानसम्मले यसबारे चासो देखाउन आवश्यक छ ।
चिकित्सा विज्ञानले यसबारे केही महत्त्वपूर्ण अनुसन्धान गरेको छ । नेपाल हेल्थ रिसर्च काउन्सिलले छापेको एउटा अनुसन्धानमूलक सामग्रीका अनुसार, विश्व स्वास्थ्य संगठनले प्रतिदिन पाँच ग्राम अथवा त्योभन्दा कम नुन खान सिफारिस गरेकामा नेपालीहरूले त्यसको दोब्बरभन्दा बेसी अर्थात् १०–१३ ग्राम नुन खाइरहेका छन् । त्यस्तै हाइपरटेन्सनका तीन चौथाइ बिरामीलाई डाक्टरहरूले नुन खपत घटाउन सुझाव दिने गरेका छन् । यसले नेपालमा नुन खपत भयावह किसिमले बढेको देखाएको छ ।
नुनको सहज उपलब्धतासँगै निरन्तर उकालो लाग्दै गएको नुन खपतले जनस्वास्थ्यमा गम्भीर असर गरिरहेकाले खाद्य संस्कारमा आमूल परिवर्तन ल्याएर मात्र दीर्घरोगको फैलावट रोक्न सकिन्छ । खाद्य संस्कार बदल्न नुनिलो खाना मात्रै स्वादिलो हुन्छ भन्ने चिन्तन त्याग्ने, नुन प्रशस्तै हालेर तयार गरिने गालेको अचार नियमित नखाने, सलाद र फलफूलको जुसमा वीरेनुन नछर्किने, खानामा नुनको मात्रा घटाउँदै लैजाने, ‘जंक फुड’ र ‘फास्ट फुड’ को खपत कम गर्ने चालचलन बसाउन आवश्यक छ । यस्तो संस्कार संस्थागत गर्न जनस्वास्थ्यसम्बन्धी काम गरिरहेका सरकारी र गैरसरकारी निकायले स्वास्थ्य विज्ञानका विज्ञहरूसँगै समाज विज्ञानका विज्ञहरूसँग पनि हातेमालो गर्न आवश्यक छ ।

 

Page 9
विविधा

बार्ले : एक सहरमा दुई देश

- जीवा लामिछाने

 

बूढापाकाहरू भन्थे– दुइटा नाउमा खुट्टा नराख्नु । यो अर्ति–उपदेश सुन्दै हुर्किएको मैले यसपालि एकैचोटि दुई देशमा खुट्टा राख्ने अवसर प्राप्त गरें । यो मैले कहिल्यै कल्पना नगरेको दृश्य थियो । प्रिय पाठकहरू समक्ष त्यही नौलो अनुभव साट्न यो आलेख लेखियो ।

कोरोना–कहरले कतै निस्कनै दिएन । आफू बसेको सहरबाट बाहिर ननिस्केकै ६ महिनै पुग्न लागेको थियो । कोरोनाले ल्याएको कठिनता र
अड्चनले सबै उल्लासलाई बिर्साइदिएको थियो । तर, तनाव, दुःख त आउँछन्–जान्छन् । यो एक ऋतुझैं चक्र हो ।
बितेका तीन दशकमा एउटै सहरमा यति लामो समय बसेको मेरो पहिलो अनुभव रहेछ । सामान्य अवस्था भएको भए महिनामा दुई–तीन नयाँ ठाउँमा यात्रा गर्नैपर्थ्यो । यात्रा मेरो स्वभाव बनिसकेको थियो । ६ महिनाको बन्दाबन्दीमा परेपछि छटपटी हुनु स्वाभाविक थियो ।
लकडाउन खुकुलो हुन थालेपछि परिवारसंग यात्रामा कतै जाने योजना बन्न थाल्यो । तर, जाने कहाँ ? युरोपेली संघका देशहरूले एक–आपसमा यात्रा खुकुलो पारे पनि मानिसहरूले पूर्ववत् अवस्थामा झैं अझै निस्फिक्री हिँड्न–डुल्न सुरु गरिहालेका छैनन् । हजारौं मानिसको ज्यान लिनेगरि फैलिएको महामारीको त्रास कायमै छ ।
महामारी बिस्तारै कम हुनु अनि युरोपको मौसमले लोभ्याउनु–एकैसाथ भयो । यो मौका सदुपयोग गर्दै हामीले जर्मनीसँगै सीमा जोडिएको देश बेल्जियमको समुद्री तट ‘उस्टेन्ड’ र अरू केही पर्यटीकीय गन्तव्य घुम्ने योजना बनायौं । र, २८ जुलाई २०२० का दिन फ्र्यांकफर्टबाट सपरिवारै निस्कने भयौं । हनाउ सहर निवासी मित्र ज्योतिन्द्र जोशी र उनको परिवार पनि यात्रामा साथ दिन तयार भए ।
हाम्रो पहिलो लक्ष्य एउटा सानो यस्तो सहर थियो, जहाँको अन्तरदेशीय सिमाना बडो विचित्रको छ । गति नियन्त्रणबिना गाडी सवार गर्न मिल्ने जर्मन अटोबाहन (राजमार्ग) पार गर्न हामीलाई धेरै समय लागेन । तीन घण्टामै जर्मन सीमा नाघेर बेल्जियम प्रवेश गर्‍यौं । बेल्जियमको पोर्टसिटी आन्त्वेरप पार गर्दै बार्ले सहर पुगियो । बार्ले पुग्न साँघुरो सडक पार गर्नुपर्छ । साँघुरो सडकका दुवैतिर रोपिएका रुखहरूले त्यहाँको सौन्दर्य आकासिएको लाग्थ्यो । सडक पार गर्दा दायाँ–बायाँ देखिने आकर्षक महलहरूले भन्थे— त्यस क्षेत्रमा सम्पन्न मानिसहरू बसोबास गर्छन् ।
युरोपमा यस्ता धेरै गाउँ छन् । तर, कोरोनाको त्रासमा पनि यही गाउँ सम्झेर हिँड्नुको कारण विशेष थियो । यो त्यही गाउँ हो, जसले दुई देशको सीमालाई आफूभित्र अटाएको छ । संसारमा सिमानाका कारण हुने अनेक विवाद सुनिरहँदा यहाँचाहिँ सिमानाका रमाइला थुप्रै किस्सा सुन्न–देख्न पाइन्छ । त्यही हेर्न, अनुभूत गर्न हामी बार्ले पुगेका थियौं ।
सानो–सुन्दर सहरबीच दुई देशका सिमाना कोरिएका थिए— कतै सडक र फुटपाथको बीचबाट कोरिएका छन्, कतै देशको राष्ट्रिय–पहिचानसहितका झन्डा राखिएका छन्, कतैचाहिँ दुई देश छुट्याउने सांकेतिक अक्षर ‘बी’ र ‘एनएल’ मात्रै लेखिएका छन् । सडकमा सीमा निर्धारण गरी लेखिएका संकेत चिह्न ‘बी’ र ‘एनएल’ छ्याप्छ्याप्ती देख्न पाइन्छ ।
‘बी’ लेखिएको छ भने बुझ्नुस्, त्यो क्षेत्र बेल्जियम अधीनस्त हो । अनि ‘एनएल’ अक्षरले भन्छ— त्यो नेदरल्यान्ड्स हो । सम्झनामा रहिरहने कुरा के भने सडकमा एक छिन हिँड्दा ‘बी’ तिर पुगिन्छ, एकै छिनमा ‘एनएल’ तिर । सडकमा जेब्राक्रसजस्तै सेतो क्रस चिह्नले सीमा छुट्याइएको छ, जसलाई नाघ्दै गर्दा मैले यो यात्रा–निबन्धको सुरुमै उल्लेख गरेको ‘दुई डुंगामा खुट्टा’ भन्ने बूढापाकाका आहान सम्झिएको थिएँ ।

यो सानो सहर वरपर ३० वटा यस्ता साना भू–भाग (आनक्लेभ) रहेछन् । केही भाग बेल्जियमको अधीनमा छन् भने केही भाग नेदरल्यान्ड्सको । ३० भाग जमिनमध्ये २२ टुक्रा जमिन बेल्जियम आनक्लेभ, एक डच आनक्लेभ र ७ बेल्जियम सबआन्क्लेभ रहेछन् । नजिकैको रेस्टुराँमा एक खुट्टा बेल्जियम र जीउ नेदरल्याण्डमा राखेर मैले गुगल सर्च गरें । गुगलमा बेल्जियमको अधीनमा रहेका यी भागहरू बेल्जियमको सिमानाबाट केही पर डच क्षेत्रभित्र रहेका ससाना थुम्काजस्ता देखिए ।
आखिर यस्तो अद्भुत सिमाना कसरी बन्यो ? सन् १८३१ मा बेल्जियम र नेदरल्यान्ड्स दुवै फरक–फरक राष्ट्र भए । दुवै राष्ट्रका सिमाना छुट्याउन गाह्रो थिएन । केवल यही ठाउँलाई कसरी मिलाउने भन्ने समस्या थियो । सिमाना छुट्याउनुअघि गाउँलेलाई सोधियो । गाउँलेले दुवै सरकारले गरेको निर्णय मान्ने राय व्यक्त गरे । त्यसपछि जहाँ जहाँ सिमाना गाडियो, गाउँको नाम देशको राष्ट्रभाषाअनुसार थोरै फरक पर्न गयो । नेदरल्यान्ड्सतिर यो गाउँको नाम बार्ले नस्सो भनियो भने बेल्जियमतिर बार्ले हेर्टोग । तर, कुन ठाउँ नेदरल्यान्ड्स, कुन ठाउँ बेल्जियम पर्छ, यो याद नगर्ने हो भने मेसो पाउनै सकिँदैन । सन् १८३१ मै गाउँलेको सहमतिमा सिमाना छुट्याउन सेतो धर्का कोर्ने निर्णय भयो, जुन आजपर्यन्त कायम छ । त्यही बेला छुट्याइएको सिमानाको रोचक पक्ष के छ भने हिँड्दा–हिँड्दै सिमाना कुनै घरलाई चिरा पारेर अघि बढ्छ । सिंगो घरको आधा भाग एउटा देशमा र आधा भाग अर्को देशमा पर्छ । कतिपय रेस्टुराँ, क्याफे, बार, सिटी हल आदि पनि यसरी दुई देशको सिमानामा निर्माण भएका छन् ।
‘त्यसो भए दुई देशका बीचमा भएका त्यस्ता संरचना कुन देशको अधीनमा होलान ?’ मेरो प्रश्नमा यस्तो जवाफ प्राप्त भयो, ‘जुन देशमा त्यो घरको मूलढोका पर्छ, त्यो घरका मानिस त्यही देशका नागरिक हुन् ।’ कतिसम्म भएको रहेछ भने कुनै घरको मूलढोका एउटा देशमा र बाँकी पूरै घर अर्को देशमा पर्छ भने पनि मूलढोकाले ऊ कुन देशको नागरिक हो भन्ने निर्णय गर्ने रहेछ ।
सडक पार गर्दा एउटा यस्तो घरनजिक पुगियो, जहाँ सीमा निर्धारण गर्ने सेतो धर्का ठीक मूलढोका हुँदै घरलाई चिर्दै अघि बढेको रहेछ । घरको एकातिर नेदरल्यान्ड्सको झन्डा छ भने अर्कोतिर बेल्जियमको ।
कहिलेकाहीं देशको नियम परिवर्तन हुँदा यहाँका नागरिकले पनि आफ्नो मूलढोका परिवर्तन गरेका कथा सुन्न पाइयो । दुईमध्ये एक देशमा करको दररेट बढ्यो भने सिमानाका घरबेटीले मूलढोका परिवर्तन गरेर आफू अर्को देशको नागरिक भएको घोषणा गर्न पाउने रहेछन् । मूलढोका नै परिवर्तन गरेका केही घरका किस्सा सुन्यौं हामीले ।
मानवीय स्वभावअनुरूप, एक देशमा आर्थिक मन्दी भयो भने त्यसबाट बच्न अर्को देशको नागरिकता लिन त्यहाँका नागरिक स्वतन्त्र छन् । करको दर परिवर्तन हुँदा मात्रै होइन, कुनै दण्ड सजायमा परिवर्तन हुँदा पनि कतिपय मानिसले अर्को देशको नागरिकता लिएको उदाहरण रहेछ ।
हामी यस्तो रेस्टुराँनजिक पुग्यौं, जसको बाहिर टेबलमा खाना खाइरहेका मानिस बेल्जियमतिर थिए भने किचेनको भाग नेदरल्यान्ड्समा थियो । खाने मान्छे एउटा देशमा बस्छ र बिल तिर्न अर्को देशमा पुग्छ । एक देशमा उभिइरहेको वेटर बोलाउनेबित्तिकै अर्को देशमा आइपुग्छ ।
सिमानामा घर हुनेहरूले हरेक विषयमा फाइदा उठाउने रहेछन् । बार्ले नसाउ नगरपालिकाबाट कुनै कार्य सञ्चालनको अनुमति नपाएमा त्यही विषय अर्कोपट्टिबाट अनुमति लिएर सञ्चालन गर्दा रहेछन् । कुनै क्याफे, बारमा एकातिरको समय सकिएर बन्द गर्नुपर्ने बेला भयो भने टेबल–कुर्सी अर्कोपट्टि फर्काएर अबेरसम्म व्यापार गर्दा रहेछन् ।
कतिसम्म भने एउटै पलङमा सुतेका श्रीमान्–श्रीमती पनि फरक देशमा सुतिरहेका हुन सक्छन् भन्ने कथन यहाँ रमाइलोसँग सुनाइँदो रहेछ । एउटै घर चिरिएर देशको सिमाना बनेपछि यसो हुनु अस्वाभाविक भएन ।
सानो सहर भए पनि यहाँ प्रसस्त रेस्टुराँ, बार, पव देखिन्थे । कोरोनाको समयमा पनि टेबलहरू भरिभराउ थिए । अन्ततिर ब्यापार खस्किरहँदा यहाँचाहिँ चहलपहल चलिरहेकै थियो ।
कोरोना लकडाउनमा भने यहाँ केही असहजता थपिएको रहेछ । त्यतिबेला सेन्जेन देशहरूले आ–आफ्नो खुला सीमा–नीतिमा केही परिवर्तन गरेका थिए । मानिसको खुला आवागमनमा नियन्त्रण लगाइएको थियो । नेदरल्यान्ड्सले बेल्जियमभन्दा केही दिनअघि नै लकडाउन खुकुलो पारेपनि बेल्जियमतिर बस्ने मानिसहरू खानपिन र किनमेललाई नेदरल्यान्ड्सको अधीनमा पर्ने रेस्टुराँ, पसलतिर त्यतिबेला जान नपाउने रहेछन् । कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या डच क्षेत्रमा भन्दा बेल्जियममा बढी थियो ।
जताजता सिमाना देखिन्छ, त्यतैत्यतै केहीबेर हिँड्यौँ । एउटा बियर पसल देखियो । पसलबाहिर साइनबोर्डमा ‘यहाँ ६ सयथरीका बियर पाइन्छ’ लेखेको देखेपछि मलाई उत्सुकता जाग्यो । हामी पसलमा प्रवेश गर्यौं । त्यहाँको दृश्य झनै चकित पार्ने खालको थियो । समान्य देखिने यो पसलको बीच भागबाटै दुई देशको सिमाना निर्धारण गरिएको रहेछ । बेल्जियमपट्टि रहेको सेल्भ्सबाट एक बोत्तल बियर निकालेर नेदरल्यान्ड्सतर्फ रहेको काउन्टरमा गएर मैले त्यसको बिल भुक्तानी गरें ।
दुई देश भएपछि दुईथरी कानुन भइहाल्छ । दुबै देशमा मदिरा सेवन गर्ने उमेर फरक छ । करको मूल्य फरक छ । सोच र शैली फरक छ । तर, जतिसुकै फरक भए पनि दुई देशका यी नागरिकले आफूलाई सहजै ती विषयमा ढालिसकेका छन् । यही भद्रगोल सीमा अवलोकनका लागि यहाँ वार्षिक हजारौं पर्यटक पुग्दारहेछन् । नगरको आम्दानीको मुख्य स्रोत पर्यटन भएको छ । अनौठो सीमा–कथा सुनाएर व्यापार चलेको छ । शताब्दीऔंदेखि यो परम्परा कायम छ ।

एक दशकपछि अर्थात सन् २०३१ मा यो नगरले आफ्ना पुर्खाले मान्दै आएको स्वतन्त्र गाउँको परिकल्पनाको २ सय वर्ष पूरा हुँदै छ । तर, स्थानीयहरू यो गाउँ आठ सय वर्षदेखि यसैगरी मिलेर बसेको बताउँछन् । मध्ययुगीनकालमा त्यस क्षेत्रलाई दुई ड्युकहरूको सम्पत्तिका रूपमा
छुट्याइएको रहेछ । त्योबेला ब्रावन्तका ड्युक हेर्टोगको अधीनमा रहेको ठाउँलाई बार्ले हेर्टोग भनियो । त्यसैगरी अहिलेको डच अधीनस्थ बार्ले नसाउ क्षेत्र ‘हाउस अफ नसाउ’ को अधीनमा परेको रहेछ । उनीहरूले असल छिमेकीको उदाहरण पेस गरेझैँ ती दुई पुर्खाले छुट्याएको सम्पत्तिलाई अहिले पनि मिलेमतोमा बाँडफाँड गरेका रहेछन् । यो परम्परा कैयौं वर्षसम्म उनीहरूका वंशजहरूले पनि कायम राख्दै आए । सन् १९९५ को एउटा सानो विवादित गाउँ बेल्जियमलाई हस्तान्तरण गरेपछि यो विवाद पनि सदाका लागि अन्त्य भएको बताउँछन् स्थानीय बासिन्दा ।
विकासका योजना पनि दुवैतर्फका स्थानीय निकाय मिलेर तय गर्दा रहेछन् । दुई मेयरहरूले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ता हेरें । दुवैले दुवैतर्फको विकासमा ध्यान दिएको र हरेक काम गर्दा सल्लाह गरेर निर्णय गरेको बताइरहेका थिए । उनीहरूको अन्तर्वार्ता हेर्दा लाग्थ्यो— उनीहरू दुई देशका फरक नगरपालिकाको विकासको कुरा गर्दै छैनन्, ओल्लो घर र पल्लोघरको नाली कसरी मिलेर सफा गर्ने भन्ने योजना बनाइरहेका छन् ।

दुई भागमा बाँडिएका अरू केही सहरको यात्रा गर्ने मौका मैले यसअघि पाएको थिएँ । सोभियत संघमा अध्ययन गर्दाताका सन् १९८७ मा म पहिलोपटक बर्लिन पुगेको थिएँ । शीतयुद्धकालमा जर्मनी पूर्वी र पश्चिम भागमा विभाजन भएको थियो । सहरको बीच भागबाटै बर्लिनको ठूलो पर्खाल उभिएको थियो । यो पर्खालले झन्डै तीन दशकसम्म एकै सहरका जनतालाई एकअर्काबाट टाढा पुर्‍याएको थियो । जर्मनीको एकीकरणसँग भत्किएको उक्त पर्खाल कथाजस्तै लाग्नेगरि अहिले पूरै सहर एक भएको छ । पर्खाल उभिँदाका पीडादायी अवस्था र पर्खाल भत्किएपछिका खुसीका फोहोराहरू देख्नुलाई मैले जीवनका सुखद संयोगमध्ये एक मानेको छु ।
अर्को विभजित राजधानी निकोसिया सहर हो । यो सहर सिप्रियोट निकोसिया र टर्किस निकोसियामा विभजित छ । क्यारेबियन क्षेत्रको सेन्ट मार्टिन द्वीप पनि फ्रेन्च र डच क्षेत्रमा विभाजित छ । उक्त स्थानमा सन् २०१७ मा पारिवारिक यात्रामा पुगेका थियौं ।
तर, सबै सिमानामा यस्तै सुखद दृश्य देख्न कहाँ पाइन्छ र ? म केही कडा नियन्त्रण भएका सीमा क्षेत्रहरूमा पनि पुगेको छु र परैबाट हेरेर फर्केको छु । मोजाम्बिकसँग सीमा जोडिएका दुई देश, दक्षिण अफ्रिका र स्वाजिल्यान्डको सीमानजिक केही समयअघि पुग्दा प्रवेशाज्ञाका कारण सिमानाबाटै ती देशहरूलाई हेर्दै निरीह भएर म फर्केको थिएँ, जहाँ चराचुरुंगी र जंगली जनावर निर्बाध रूपमा दुवैतर्फ घुमफिर गरिरहेका थिए । त्यतिबेला मलाई लाग्यो, प्राणीहरूमा आफूलाई सर्बश्रेष्ठ ठान्ने मानवजाति आफैंले कोरेको सीमाका कारण बन्धनमा बाँधिएको छ । यस्तै सीमाका रूपमा चित्रित भएको दुई कोरियाबीच रहेको ‘डीएमजेड’ पुग्ने उत्कट चाहना हुँदाहुँदै पनि त्यहाँ भने अझै पुग्न सकेको छैन । विश्वका छक्क पार्ने अनेक सिमानाबारे जोरन निकोलिकले आफ्नो किताब ‘द एट्लास अफ अनयुजल बोर्डर्स’ मा लेखेका छन् ।
मार्क्सले वर्गविहीन र सीमाविहीन राज्यको कल्पना गरेका थिए । जुन बेला मार्क्सले यस्तो सीमाविहीन राज्यको कल्पना गरेका थिए, त्योबेला यो स्वप्नझैँ लाग्थ्यो । तर, मार्क्सको विचारलाई नमान्ने युरोपका २६ देशले सीमाविहीन राज्यको थालनी गरेका छन् । कुनै एक सदस्य देशको प्रवेशाज्ञा लिएको मानिस अरू कुनै पनि सदस्य राष्ट्रमा निर्बाध रूपमा यात्रा गर्न पाउँछ । सेन्जेन भिसा जोन नाम दिइएको यो प्रयोग सीमाविहीन देशको राम्रो प्रयोग मानिन्छ । तर, यो गाउँ त सेन्जेन जोनको भिसाभन्दा अझ एक पाइला अघि भएझैँ लाग्यो ।
आखिर उत्तर कोरिया र दक्षिण कोरियाको पनि सिमाना नै हो । उनीहरू त झन् एकै जाति, भाषा र संस्कृतिका मानिस हुन् । र, नेदरल्यान्ड्स र बेल्जियमको यो सानो सहर बार्ले पनि सीमा सहर नै हो । एकातिर निर्बाध हिँड्न र नागरिकतासमेत परिवर्तन गर्न पाइन्छ । अर्कातिर सीमा छेउछाउ हिँड्दा पनि गोली खाने डर हुन्छ । सीमाविहीन भूगोलको कल्पना गरेर निर्बाध रूपमा संसार घुम्न चाहने यात्री म, अहिले सिमानाका यी दुई फरक दृष्टिकोण सम्झिइरहेको छु ।

विविधा

‘रित्तो पेट रित्तै हुनेभैग्या’

- कुन्साङ


बिहानको एघार बजेको थियो । घाम उदाएको थिएन । यस्तो लाग्थ्यो– बादलको बर्को ओढेर घाम कतै चुपचाप निदाइरहेको छ । पैंतालीस मिनेटअघि नेपालगन्जको बाफिदो गर्मी चंखेली हिमाल काट्नेबितिकै सेलाइगयो । चंखेली हिमाल पुग्नेबितिकै जहाजभित्रै सर्र बहने चिसो हावाले भनेझैं लाग्छ– वेलकम टु हुम्ला ∕
ह्योम्बु (काठमाडौं) पसेको ६ वर्ष भयो । यो ६ वर्षको अन्तरालमा जम्मा दुईपटक हुम्ला जान पाएँ । हुन त जहाजमा बसेको केही मिनेटमै हुम्ला सदरमुकाम सिमकोट पुगिन्छ । त्यहाँबाट पाँच घण्टा हिँडेपछि आफ्नै गाउँघर पुग्छु । दिनरात गाडीमा लामो यात्रा गर्नुपरेन । तर, बादल माथि–माथिबाट उडेर पटक–पटक हुम्ला गइरहन भनेजस्तो सजिलो पनि त छैन ।
खैर, जसो–तसो गरेर म हुम्ला आइपुगें । झोला थन्क्याएर सिमकोट बजार डुल्न निस्किएँ । उही चिने–चिनेजस्तो लाग्ने मान्ठाहरू थिए । रित्तो थैलो काखी च्यापेर चामल निकाल्न खाद्य संस्थानतिर दौडिनेहरूको हतारो उस्तै थियो । खाद्य संस्थानअघिको भीड त्यस्तै । डोकोमा साग, स्याउ, आरू र दाउरा बेच्नेहरूको जाँगरिलो आवाज पनि उस्तै सुनिन्थ्यो ।
तर, अहिलेको सिमकोट दुई वर्षअघिको भन्दा निकै फरक भइसकेको छ । पहिला यही बाटोमा दाउरा बोकेका गधा, घोडा, जोपा, तोल्व र खच्चडहरूको लस्कर देखिन्थ्यो । अहिले धूलो, धूवाँ उडाउँदै केही गाडीहरू गुडिरहेका छन् । ढुंगा, दाउरा र सामान ओसार्ने खच्चडमध्ये लम (सुरुमा हिँड्ने) को घाँटीमा झुन्डिएको करङ, लिङ्स्याङ र ठिलु (घण्टी) को मिठो धुनसँगै सहर ब्युँझिन्थ्यो । लमको निधारमा टाँसिएको सानो ऐना परबाटै टलक्कै टल्किन्थ्यो– जस्तो टाक्तेल हिमालको चुचुरोमा घाम लाग्दा हिउँ टल्किन्छ । हिउँदमा मान्ठाहरू बाटो छेउछाउमा बसेर सुल्पा तान्दै घाम ताप्थे, गाला मार्थे (गफ गर्थे) । ठट्टा गर्नेहरू ठट्यौली पारामा हिउँको डल्लो बनाएर एकअर्कालाई हानाहान गरेर रमाइलो गर्थे । बैकिनी (आइमाई) हरू यही बाटोमा बसेर घाम ताप्दै ओखर फुटाउँथे, ताको (धागो) काढ्थे, छोछोरीहरू बाटोमै खेलिरहेका हुन्थे । सबै शान्त थियो ।
सिमकोट बजारको खाल्डाखुल्डी बाटोमा चामल बोकेको एउटा ट्याक्टर धूवाँ उडाउँदै गुडिरहेको थियो । पानी नपर्दो हो त कति धूलो उड्थ्यो होला । केटाकेटीहरू गाडी हेरेर रमाइरहेका थिए । कोही गाडीको पछिपछि कुद्दै थिए । ६ वर्षअघि हुम्लाबाट नेपालगन्ज पुग्दा पहिलोपटक मैले गाडी देख्या थिएँ । जहाज चढ्दा डर लाग्या थिएन । बाफ्रे ∕ गाडी देखेर खुब डर लाग्यो । गाउँबाट आएकालाई सहरसँग अजिबको डर हुँदोरहेछ ।
रानीवनबाट हेर्दा पूरै सिमकोट बजार छर्लंग देखिन्छ । उहिले अन्नबाली उम्रिने जग्गामा अहिले घरैघर उम्रिएका छन् । फापर, चिनु, मर्सी, कागुनी, आदि फल्दा–फुल्दा सिंगै सिमकोट बजार अनेकन रङका फूलहरूको एउटा फूलबारी लाग्थ्यो । अहिले पनि सिमकोट बजार हराभरा छ, रंगी देखिन्छ । तर फापर, चिनुको ठाउँमा घरहरू उभिएका छन् । फरकफरक रङका जस्तापाताहरू जताततै टल्किएका छन् । अहिलेको सिमकोटबाट उहिलेको सिमकोट लगभग हराइसकेको छ । सिमकोट नितान्त भिन्नै भएको छ ।
िि
िसिमकोट बजारलाई एक फन्को मारेर दुइटा झोला बोकेर म सरासर गाउँतिर लागें । लगभग पाँच घण्टाको उकालो–ओरालो बाटो । आमाले पहिले नै भनेकी थिइन्, ‘बाटोमा फोटो खिच्दै नबस्, छिट्छटो आइज । मोटर बाटो बनाइरहेको ठाउँबाट ढुंगा खस्छ ।’ नभन्दै बाटो निकै नराम्रो थियो । बाटो फराकिलो बनाउँदा ठाउँठाउँमा रूखहरू काटिएका थिए । पहिले च्याखुरा, डाँफेको संगीतमय आवाजसँगै उकालो–ओरालो बाटो पार गर्‍थ्यौं । अहिले गाडीको कर्कस आवाज मात्रै सुनिन्छ, पूरै जंगलमा । गाडीको कर्कश आवाजसँग तर्सेर च्याखुरा, कालिज र डाँफेजस्ता चराहरू पनि टाढा–टाढा गइगए । कत्ति घोडा जोपा लोटे (लडे) । गाडीको बाटो बनाउने ठाउँबाट खसेको ढुंगाले गाईगोरु, घोडा हिँड्ने बाटो बन्द भएको थियो । रूखहरू काटिएका नांगा डाँडा शोकमग्न देखिन्थे ।
हिल्सा–सिमकोट हिँड्ने पैदल रुटमा यही हो । तर, बाटोमा खासै मान्ठा भेटिएन । पैदल रुटमा पर्ने होटलका साहुजीहरू कोही त आउला भन्ने आशा बोकेर ढुकिबसेका थिए । पानीनौला शाही होटलका साहुजीको निन्याउरो अनुहार मलाई देखेर उज्यालो भयो । पानीनौलाको चिसो पानीको गिलास मेरो हातमा थमाउँदै उनले भने, ‘हब्री (माथि) बाट बाटो बनिगो । अब यो बाटो भएर कोही हिँड्दैनन् । गाडी गुड्न थालेदेखि सबैको भाउ बढ्या छ । हामी गरिबले महँगो ठाउँमा जग्गा किनेर होटल बनाउन सक्दैनौं । तैपनि कोही पाहुना आइजाला कि भनेर ढुकिबस्या छौं ।’ उनका लागि यही होटल सबथोक हो । यहीँको कमाइले छकलबाहाको छाक टार्नु छ, बच्चाहरूलाई पढाउनु छ ।
सिमकोट लाक्नाबाट उँधो सिमकोटतिर फर्केर सुल्पा तानिरहेका बाजेले पनि नाकबाट धूवाँ निकाल्दै भनेका थिए, ‘क्या गर्नु त भाउवा ∕ विकास त भयो तर धनीहरूका लागि । बाटो बन्यो । गाडी गुड्न थाल्यो । बजारमा घरहरू बने । जताततै बजार बन्न थाल्यो । धेरै जग्गाजमिन हुने धनीहरू जग्गा बेचेर झन् धनी भैग्या । हामी गरिब झन्–झन् गरिब भैगयौं । पहिले यही बाटो भएर गधा, खच्चडमा ढुंगा ओसार्‍थ्यौं । कुइरेको झोला हिल्सा पुर्‍याउँथ्यौं । हिल्साबाट सामान ढुवानी ल्याउँथ्यौं । सकेजति पसिना बगाउँथ्यौं, भोको पेट भरिन्थ्यो । अहिले काम पाइँदैन, कामै नभएपछि रित्तो पेट रित्तै हुनेभैग्या । धेरै मान्ठले गर्ने काम एउटै गाडीले एकैछिनमा गरिदिन्छ । आफ्नो खेतमा फलेको अन्नले खाना पुग्दैन । अब हामी गरिबहरूको काम खोसियो ।’ विकास सबैको बराबर नहुँदो रहेछ । उनको कुरा निकै कहालीलाग्दो सुनिन्थ्यो । कुनै समय उनले पनि सडक बनेको सपना देखे होलान् । गाडी चढेर सरर घुमेको कल्पना गरे होलान् । तर, अहिले उनको आँखामा कुनै सपना र कल्पना बाँकी थिएन ।
िि
िम गाउँ पुग्दा रात परिसकेको थियो । बिजुली नपुगेको मेरो गाउँ साँझसँगै निदाइसकेजस्तो लाग्थ्यो । एकदम चुपचाप र सुनसान थियो । परबाट आफ्नो गाउँलाई धीत मरुन्जेल हेर्ने इच्छा रातले निलिदियो । बिहानै उठेर थाराबाट गाउँ हेरें । गाउँ पनि केही भिन्नै भैसकेको थियो । भोजपत्र र माटोले छाएको चिटिक्क घरहरूको बीचमा आठ, नौ घर नीलो, रातो टिनले छाएका थिए । बर्खायाममा पानी नचुहिने र हिउँदमा हिउँ फाल्न नपर्ने भए पनि टिनले छाएका घरहरूले सुन्दर गाउँ कुरूप देखिएको थियो । आफ्नो मौलिकता, आफ्नोपन गुमाइरहेको गाउँ न गाउँजस्तो देखिन्थ्यो, न सहरजस्तो । हावाको लयमा नाच्ने लुङ्दार र लटरम्म फलेको स्याउ, पाक्दै गरेको फापर, चिनु, लरे, सिमी आदिले भने वातावरण रंगीचंगी बनाएको थियो । उहिले हजुरआमाले सुनाउने टुङ (कथा) मा वर्णन गरिएको स्वर्गजस्तै लाग्थ्यो ।
हाम्रोतिर लामो समयपछि बाहिरबाट आएका मान्ठहरूलाई सबैले पाहुना बोलाउने चलन छ । एक जना भाउजूले उनको घरमा बोलाइन् । सफा घर, धोएर मिलाएर राखेका भाँडाकुँडाहरू टन्नै थियो । तर, उनले पुरानो कराईमा पानी उमालेर चिया बनाइन् । अचम्म लाग्यो, यत्तिका राम्रा भाँडाहरू छाडेर उनले किन कराईमा पानी उमालिन् ? ती भाउजूले धोएको सेतो भाँडोमा मोसो लाग्छ भनेर पुरानो कराईमा पानी उमालेकी रहिछन् । उनले सहरको जस्तो सेतो भाँडा सजाएकी रे । आमाले भनेपछि पो थाहा भयो । गाउँमा यत्तिसम्म सहरको प्रभाव परेको रहेछ ।
बाटो बनाउँदा ब्लास्टिङ गरेको आवाजले तर्सेर उँभो हिमाल चढेका थिए बाँदरहरू । गाउँमा देखिने बाँदर खर्कमा भेटिए । खर्क जाँदा मसँग चार जना ११ र १२ वर्षका भाइबहिनीहरू थिए । भीरको बाटो एकदमै नराम्रो थियो । त्यो भीरबाट लोट्यो भने बाँच्ने आसै थिएन । ‘हामी एक–एक गरेर लाइन लागेर हिँडौं,’ मैले भनें । बच्चाहरू को पहिले हिँड्ने भन्ने विषयमा झगडा गर्न थाले । झगडा गर्दागर्दै एउटाले भन्यो, ‘जो सबभन्दा धनी छ ऊ सबभन्दा अघि, जो गरिब छ ऊ सबभन्दा पछाडि हिँड्ने ।’ उसले यसो भन्नेबित्तिकै सबै जना एकपछि अर्को गर्दै चुपचाप लाइन लागे । म एकटकले हेरेको हेर्यै भएँ । सबैभन्दा अघि हिँडिरहेकी बहिनीतिर हेरेर सोधें, ‘ऊ कसरी सबैभन्दा धनी भयो ?’ ‘उसको घर सबैभन्दा ठूलो छ । खपु (झ्याल) पनि ठूल्ठूला छन्, नीलो कलर गरेको टिन हालेको छ नि त त्यसै ऊ सबैभन्दा धनी भयो ।’ बीचको एक जना बोल्यो । लाइनको अन्तिममा चुपचाप हिँडिरहेको भाइतिर देखाउँदै उसले थप्यो, ‘उसको घरमा टिन हालेको छैन्, खपु पनि सानासाना छन् । भाँडाकुँडा पनि सेतो छैन ।’
साना स्कुले भाइबहिनीको कुरा सुनेर छक्क परें । पहेँलो, नीलो जस्तापाताले छाएको घर र सहरको जस्तै मिलाएर राखेको भाँडाकुँडाले गाउँमा यो धनी त्यो गरिब भनेर वर्ग निर्माण गरेको थियो । समाजले निर्माण यो मानसिकताले स–साना भाइबहिनीलाई पनि गाँजेको छ । लामो समय टाढा बस्दा गाउँ यस्तो भयो होला, उस्तो भयो होला भन्ने जोकोहीलाई लाग्छ । पहिलेको गाउँ मगजका बसिरहेको हुन्छ । अझ भनौं आफ्नो गाउँभन्दा टाढा बस्नेहरूले गाउँको यादहरू साथ लिएर हिँड्छन् । वर्षौंदेखि आफूसँगै लिएर हिँडेको सुन्दर याद र कल्पनाहरू भत्किँदा नरमाइलो लाग्दोरहेछ । माटोले छाएको तीनतले घरले गरिबी होइन गाउँको आफ्नोपन, आफ्नो मौलिकता प्रतिविम्बित गर्छ । ती स–साना भाइबहिनीहरूलाई कसरी बुझाउनु ? कसरी सम्झाउनु ? मलाई पहिलोपटक आफ्नै गाउँ नरमाइलो लाग्यो ।

Page 10
सामयिक

महामारीमा युङ, जिजेक

- बलराम अधिकारी

 

युवा अवस्थामा सिग्मन्ड फ्रोइडको ‘अ जेनेरल इन्ट्रोडक्सन टु साइकोएनालिसिस’ को हिन्दी अनुवादबाट म मनोविज्ञान र मनोविश्लेषणतिर खिचिएको हुँ । उतिबेला मलाई यौन तत्त्व नै मानव मनोजगतको नाभीय ऊर्जा हो भन्ने लागिरहन्थ्यो । अझ त्यसमा ओशोको ‘सम्भोग से समाधी की और’ ले मभित्रको भुतभुते कामनाको आगोमा हावा दिन थाल्यो । यी दुवैको बोधको व्यापकता, उनीहरूको तथ्य र तर्कलाई काट्ने आधार ममा थिएन । तर, आफ्नो अनुभव र बोधको दायरा फैलिँदै गएपछि म आफूलाई यिनीहरूसँग आंशिक रूपले मात्र सहमत भएको पाउन थालेँ । मानव अचेतन केवल यौन ऊर्जाको कालीरह होइन र यसमा केवल फ्रोइडले भनेझैँ दमित मनोविकार मात्र थुप्रिएको हुँदैन भन्ने कुरा मलाई धेरै पछि कार्ल गुस्ताव युङले बुझाए । फ्रोइडबाट प्रेरित तथा दीक्षित युङ मानव अचेतनको स्वस्थ र सृजनशील पाटोतर्फ खिचिए, जसका कारण गुरु–चेलाबीच फाटो आयो । अन्ततः युङले विश्लेषणात्मक मनोविज्ञानको आफ्नै सम्प्रदाय खडा गरे । आफ्नो अचेतनको गर्तमा पुग्ने मेरो चाहनाले उनको ‘मोर्डन म्यान इन सर्च अव अ सोल्’ (आधुनिक मानव आत्माको खोजीमा) को यात्रा गरायो । बीसौँ शताब्दीका एक अधिक प्रभावशाली र मौलिक मनोदार्शनिक युङका सिद्धान्त र अवधारणा बुझ्न चाहनेका लागि यो पुस्तक निकै उपयोगी छ । ईश्वर अथवा अदृश्य शक्तिमाथिको विश्वासको आवश्यकता, स्वप्न, अचेतन र साहित्यबीचको अन्तरंग सम्बन्ध, जीवनको अर्थ र सान्दर्भिकताको गहिरो खोजीमा रहेकाहरूको रोजाइमा यो पुस्तक पर्न सक्छ । सन् १९३३ मा जर्मन भाषामा प्रथमपटक प्रकाशित र त्यही वर्ष क्यारी बाइनेसद्वारा अंग्रेजीमा अनूदित यस पुस्तकमा युङका ११ वटा लामा लेख संगृहीत छन् । समीक्षकहरूले यस पुस्तकलाई युङ्गियन चिन्तनको सर्वोत्कृष्ट दस्तावेज भनेका छन् । यसमा मनोविज्ञान, मनोविश्लेषण, रहस्यवाद, ब्रह्मवाद, पूर्वीय दर्शन, अध्यात्म, धर्म, मिथिहास, र साहित्यको सूक्ष्म एवम् जटिल संयोजनको पठन पाइन्छ । स्वप्न विश्लेषण, आधुनिक मनोउपचार, मनोउपचारको उद्देश्यजस्ता लेखहरू मनोविज्ञानको आधारभूत ज्ञान भएका पाठले मात्र छिचोल्लान् यद्यपि जीवनका चरणहरू, आद्यमानव, मनोविज्ञान र साहित्य, आधुनिक मानवको आध्यात्मिक समस्याजस्ता लेखहरू भने आमपाठकको बोधको सीमाभित्र रहन्छन् । जीवनको औचित्य के ? बाँच्नुको अर्थ कहाँ खोज्ने ? किन खोज्ने ? आफ्नो अन्त्य अवश्यम्भावी छ भन्ने जान्दाजान्दै पनि मानिस नैरन्तर्यको कामना किन गर्छ ? कस्तो मनोवस्थामा ऊ मृत्युलाई जीवनको अन्तिम गन्तव्यका रूपमा सहर्ष स्विकार्न सक्छ ? व्यक्तिले आफ्नो जीवनको सूर्योदयदेखि, मध्याह्न, अपराह्न र सूर्यास्तसम्मको यात्रालाई कसरी बुझ्ने ? ‘जीवनका चरणहरू’ पढ्दा म यी प्रश्नहरूको जवाफ पाउँछु । मनोविज्ञान र साहित्यबीच सम्बन्ध पढेपछि फ्रोइडले भनेझैँ साहित्य सृजना केवल केटाकेटीको दिवास्वप्न र सर्जकको दमित कामवासनाको उदात्तीकरण होइन भन्ने निष्कर्षमा पुग्छु । युङका लागि कला मानिसमा व्यप्त जन्मजात ऊर्जा हो, जसले उसलाई आफ्नो वशमा लिन्छ र उसका माध्यमबाट प्रकट हुन्छ । सामूहिक अचेतनका प्रवर्तक युङ सर्जकलाई आफ्नै स्वतन्त्र इच्छा शक्तिबाट चल्ने एकल व्यक्तिभन्दा पनि सामूहिक मानव चेतनका रूपमा अर्थ्याउँछन् । यस्तो व्यक्ति जसले मानवजातिको अचेतन मनोजगत् र आत्मिक जीवनलाई धारण गर्छ, आकार दिन्छ र व्यक्त गर्छ । त्यसैले उसको जीवन सदा व्यक्तिगत र सामूहिक स्पेसमा विभक्त हुन्छ । त्यसैगरी उनले सृजनाको स्रोत के ? आफ्नो मनोजगत्को सीमाभित्र मात्र रहेर व्यक्त हुने ‘साइकोलोजिकल’ लेखन र आदिम चेतनालाई व्यक्त गर्ने ‘भिजनरी लेखन’ बीच के भिन्नता हुन्छ ? जस्ता प्रश्नहरूमा सूक्ष्म चिन्तन गरेका छन् । यो पुस्तक पढिरहँदा युङ मनोवैज्ञानिक तथा मनोविश्लेषक कम धार्मिक, आध्यात्मिक, रहस्यदर्शी, कला–चिन्तक र दार्शनिक ज्यादा लाग्छन् । उनी सम्झाउँछन्— भौतिक विकासका लागि तथ्य आवश्यक हुन्छ तर खुसी र आनन्दका लागि तथ्यभन्दा रहस्य र विश्वास ज्यादा महत्त्वपूर्ण हुन्छ । विज्ञानले मानिसको ईश्वर या भनौँ अदृश्य शक्तिमाथिको विश्वास टुक्राटुक्रा पारिदियो तर दुःखको कुरा त्यस रिक्त स्थानमा राख्ने अर्को कुनै चीज दिएन । आजका मानिसको अचेतनको त्यो स्थान रिक्त छ, जसले गर्दा ऊ आफूलाई कुनै आडभरोसा नभएको पाउँछ । त्यो रिक्त स्थान उसले वैज्ञानिक तर्क र भौतिक समृद्धिले भर्ने प्रयास गरिरहेको छ । भौतिक समृद्धिले बाहिरी आवश्यकता पूरा त गरेको छ तर आत्मिक घाउ झन् चर्काएको छ । अर्को महत्त्वपूर्ण कुरा, बाहिरको केओस अर्थात् कोलाहल, द्वन्द्व, हिंसा केवल मानिसको सामूहिक मनोदशाको प्रक्षेपण हो । त्यसैले व्यक्तिले आफूभित्रको ज्वारभाटालाई नबुझेसम्म उसले बाहिरको केओस बुझ्ने छैन । यसका लागि ऊ आफैँभित्र फर्कियोस्, आफ्नो मनोजगत्को निरीक्षण गरोस् । आफूभित्रको सामूहिक अचेतनसँग जोडियोस् र आफ्नो अचतेनको गर्तमा रहेको आदिम मानवलाई बुझोस्, आफूभित्रको मिथोपोएटिक तत्त्वहरूलाई जगाओस्, सृजनशील र मानसिक रूपले स्वस्थ जीवन बाँचोस् । सदा केओसमा बाँचेको म (उत्तर) आधुनिक मनुवा झन्डै शताब्दीअघि युङले दिएका यी सुझावहरूमा रुमल्लिन्छु र कोभिड महामारीले निम्त्याएको बाध्यकारी एकान्तवासलाई आफ्नो मनोजगत्को यात्रामा जाने अवसरका रूपमा लिन्छु ।
फ्रोइडबाट सुरु भई युङको बाटो हुँदै मनोविश्लेषक ज्याक लकाँबाट म अहिले स्लोभानियन मनोविश्लेषक तथा दार्शनिक स्लाभो जिजेककोमा छु । हेगेलको दर्शन र ज्याक लकाँको मनोविश्लेषण र चिन्तनका हिमायती जिजेक यस युगका एक असमान्य चिन्तकका रूपमा चिनिन्छन् । उमेरले सत्तरी कटेका यी बहुकृतिक र बहुआयामिक चिन्तकको सक्रियताले जो कोहीलाई पनि उदेकमा पार्छ । ‘प्यानिक प्यान्डेमिक ः कोभिड– नाइन्टिन सेक्स द वर्ड (महामारी ः कोभिड १९ ले विश्व थर्थराउँछ) अहिलेको महामारी बुझ्नका लागि एक उपयुक्त पठन हुन सक्छ । सन् २०२० मार्चमा प्रकाशित ११४ पृष्ठको यस पुस्तकले व्याप्त महामारीलाई दार्शनिक, मनोवैज्ञानिक, राजनीतिक र पपुलर कल्चरको कोणहरूबाट बुझाउने प्रयास गरेको छ । दस छोटा अध्यायमा विभाजित यस पुस्तकमा जिजेकले कोरना भाइरसको यस महामारीले चिनियाँ शैलीको कम्युनिजम र पश्चिमी उदारवादी पुँजीवाद दुवैको विकल्प खोज्ने अवसर जुराएको तर्क गरेका छन् । यस महामारीमा कम्युनिजमले काम गर्न सक्दैन किनभने कम्युनिस्ट राज्य संयन्त्रले जनतालाई कहिल्यै विश्वास गर्दैन । जनतामाथि सदा शंका गर्छ । आजको कम्युनिस्ट सरकारले ‘जनतालाई विश्वास गर’ भन्ने माओको आदर्श वचनलाई रछ्यानमा गाडिसकेको छ । माओ वाणीमा देखिएको व्यापक विचलनलाई जिजेकले राम्ररी बुझेका छन्— जनतालाई सुरक्षा देऊ, हेरचाह गर, नियन्त्रण गर, माया पनि गर, तर विश्वास नगर (८) । जिजेकको तर्क के छ भने वुहान केन्द्रीय अस्पतालको चिकित्सक ली वेनलियाङको सुरुको चेतावनीलाई प्रशासनले सुनेको भए, उनलाई गलत समाचार फैलाएको आरोपमा ताडना नदिएको भए, सुरुका केसहरू नलुकाएको भए सम्भवतः कोरोना भाइरसले यो महामारीको रूप लिन्थेन । जबसम्म राज्यसंयन्त्र आफ्नो जनतालाई विश्वास गर्दैन, जबसम्म उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दैन, उनीहरूको आवाज सुन्दैन तबसम्म कोरोनाजस्तो महाकहर दोहोरिरहन्छ । अर्कातर्फ यस महामारीले विश्व पुँजीवादी व्यवस्थालाई धराशायी बनाएको छ । कोरोना भाइरसले बजार अर्थात् पुँजीवादको मुटुमा आक्रमण गरेको छ । पुजीँवादी अर्थतन्त्रमा जनता केवल वस्तु हुन्छ भने बजार जीवित र चलायमान संयन्त्र । वास्तवमा मानिसले बजार होइन बजारले मानिसलाई उपभोग गरिरहेको छ । त्यसैले यस महामारीको बीचमा प्रायजसो सबै देशका सरकारले जनता मरून् तर बजार जीवित रहोस् भन्ने अव्यक्त रणनीति अपनाएका छन् । कोरना भाइरस महामारीबाट हुन सक्ने थप विश्वव्यापी विनाश रोक्न जिजेक जनतालाई अविश्वास गर्ने कम्युनिजम र जनतालाई केवल वस्तु ठान्ने पुँजीवाद दुवैको विकल्प खोज्न सुझाउँछन् । यसका निम्ति उनले नयाँ प्रकारको कम्युनिजमको उदयको अपेक्षा गरेका छन् । यस्तो शासन व्यवस्था जुन विश्व संगठनबाट नियन्त्रित र परिचालित अर्थतन्त्रमा उभिएको हुन्छ र जसले विश्वव्यापी स्वास्थ्य हेरचाह सञ्जालको निर्माण गर्छ र स्वास्थ्य सेवालाई नाफाखोरी बजार संयन्त्रबाट मुक्त गराउँछ । जिजेकको वैकल्पिक कम्युनिजमले मार्क्सको परिकल्पनामा रहेको राज्यविहीन शाश्वत् कम्युनिजमको झझल्को दिन्छ । तर, वास्तवमा यो उनको दार्शनिक स्वैरकल्पनाभन्दा बढी केही देखिँदैन । तर, जे होस्, कोरना भाइरसले चेताएको मूल पाठ के हो भने विश्वव्यापी ऐक्यभाव, समन्वय र सहकार्यबिना अबको विश्वले कुनै पनि संकटको सामना गर्न सक्दैन ।
पुस्तक परिचयको शीर्षक छ— नछोउ मलाई । जिजेकसँग लय मिलाउँदै म थप्छु— यस भाइरसले हामी सबैलाई स्वघोषित अछुत बनाएको छ । हामी आपसी समझदारीमा एकअर्काका लागि अछुत भएका छौँ । जिजेक बोल्छन्— नछोऊ मलाई, केबल हेर मेरा आँखामा । मेरा मित्रजन, मेरा आत्मीयजन हातको स्पर्शभन्दा आँखाको संवादले एकअर्कालाई स्पर्श गरौँ । उपयुक्त दूरीमा रहेर आफ्नाजनको आँखामा हेर्दा सम्बन्धको जति गहिराइमा पुगिन्छ सम्भवतः हातको स्पर्शले त्यो गहिराइमा पुग्न पक्कै सकिँदैन । यस भौतिक दूरी र एकान्तवासले हामीलाई आफ्नाजनको उपस्थितिको महत्त्व अझ बुझाएको हुनुपर्छ । मेरो अनुभव— कसैलाई छोइन्छ कि भन्ने हरपलको भयमा बाँच्दाको उकुसमुकुस पनि उत्तिकै छ । जिजेकको ‘नछोऊ मलाई’ अंश पढिरहँदा मेरो मनमा एउटै प्रश्न बारम्बार उठिरहन्छ— स्वघोषित र आपसी समझदारीमा अछुत हुँदा त यस्तो उकुसमुकुस हुन्छ भने समाजले लगाइदिएको अछुतको ट्याग बोकेर युगौंदेखि एकान्तवासमा र सामाजिक, सांस्कृतिक क्वारेन्टिनमा बस्न बाध्य बनाइएकाहरूको पीडा कस्तो होला ? यस्तो ट्यागको बोझले थिचिएका मेरा बालसखाहरूको अव्यक्त उकुसमुकुस यतिबेला मेरो घाँटीमा अड्केको छ । जिजेकले भने जस्तो वैकल्पिक कम्युनिजम त आउला भन्नेमा विश्वास छैन र देशमा कम्युनिस्ट सरकारको दुर्दशा देखी भोग्दा यस्तो चाहना पनि छैन । तर, कम्तीमा यो महामारीले युङले सुझाएजस्तो आफ्नो मनोजगत्को द्रष्टा बन्ने अवसर मिल्न सक्छ । त्यसैगरीे सदिऔँदेखि सामाजिक क्वारेन्टाइन तथा एकान्तवासमा रहन बाध्य बनाउने सामाजिक भाइरस कति घातक छ भनी बुझ्ने उपयुक्त समय पनि हो यो ।

 

सामयिक

स्वर्ग जान योग्य

अर्को अर्थ नलागेमा

 

राजा विक्रम पुनः श्मशानमा फर्किए र सिसौको रूखमा झुन्डिएको शव काँधमा हालेर चूपचाप हिंड्न थाले । अन्धकारको गाजल पोतिएजस्तो मध्यरातमा झमझम पानी परिरहेको थियो । छिनछिनमा सनसनाउँदै हावाको झोक्का आइरहेको, चट्याङ कड्किरहेको र श्मशानबाट चीत्कारको झैं उद्वेगजनक आवाज उठिरहेको । यो सबबाट अप्रभावित विक्रम सिंहको चालमा दुई सय पाइला जति अघि बढेपछि शवमा रहेको बेतालले भन्यो, ‘राजन्, तिमी बडो वीर र दृढनिश्चयी रहेछौ । लामो बाटोमा तिमीलाई थकाइ नलागोस् भनेर म एउटा कथा सुनाउँछु, सुन ।’
विक्रमलाई बेतालसँग झ्वाँक चलेको थियो, तर केही बोलेनन् । उनलाई त्यो शव दुई कोश पर एउटा जोगीको तन्त्रसाधना–स्थलमा पुर्‍याउनु थियो । विक्रमले शव बोकेर हिंड्न थालेपछि वेताल एउटा कथा सुनाउन थाल्थ्यो र कथाको अन्त्यमा उनलाई बोल्नुपर्ने बनाउँथ्यो । विक्रमको मुखबाट बोली निस्क्यो कि वेताल उनको काँधबाट शव सहित उडेर पुनः त्यही रूखमा गएर बस्थ्यो र उनले फेरि श्मशान पुगेर शव बोकी हिंड्न थाल्नुपर्थ्यो । विक्रमले यसरी शव बोकेर हिंडेको यो पन्ध्रौं पटक थियो । उनले अठोट गरे— यसपालि त ज्यान गए पनि बोल्नेछैन ।
विक्रम मौन रहे, वेताल पन्ध्रौं कथा भन्न थाल्यो ः
नेपाल देशको शिवपुरी नगरमा यशकेतु नामक राजा राज्य गर्दथे । त्यहाँबाट एक योजन दूर वाग्मती नदीको किनारमा एउटा गुरुकुल थियो । विद्यार्जनका निम्ति विभिन्न देशबाट आएका सयौं वटुकहरूद्वारा गुरुकुल सदा संकुल रहन्थ्यो । तीमध्ये पढाइमा सबैभन्दा कमजोर तर कुटिल स्वभावका सातजना वटुक घनिष्ठ मित्र थिए । १२ वर्षको अध्ययन पश्चात् दीक्षान्त समारोहको पूर्वसन्ध्यामा उनीहरूले पीपलको वृक्षमुनि बसेर भविष्यमा आफूले अपनाउने आजीविकाबारे वार्ता गरे ।
पहिलो वटुक वीरकेतुले भन्यो, ‘म कसैको सेवा, कृषिकर्म अथवा
व्यापार–वाणिज्य गर्न सक्तिनँ । त्यसैले दस्युवृत्ति अपनाउने निर्णय गरेको छु । मेरो पेशा डकैती हुनेछ र त्यसै मार्फत आफ्नो परिवार र आफन्तको भरणपोषण गर्नेछु ।’
दोस्रो वटुक धूमकेतुले राजपुरुष अर्थात् प्रहरी बनेर प्रजाको जनधनको सुरक्षा गर्ने संकल्प जाहेर गर्‍यो । तेस्रो वटुक द्रव्यचक्षुले राजकर्मचारी बनेर सुशासन कायम गर्ने लक्ष्य सुनायो । अर्थदत्तको ध्येय व्यापार–वाणिज्यमा संलग्न भएर अर्थोपार्जन गर्ने थियो भने दस्युमित्र न्यायाधिकरणमा प्रवेश गरेर न्यायको ध्वजा लहराउन चाहन्थ्यो । छैटौं वटुक रिक्तशीर्षले बुद्धिजीवी भएर चकचकी मच्चाउने सपना देखेको थियो । सातौं वटुक वज्रमतिले सगर्व घोषणा गर्‍यो, ‘म राजकीय कृपा प्राप्त गरेर मन्त्री बन्नेछु । तिमीहरू सबै मेरा कृपाकांक्षी हुनेछौ ।’ वीरकेतुलाई बाँकी छजनाले डकैती जस्तो निकृष्ट पेशा चयन नगर्न धेरै सम्झाए, तर उसले आफ्नो निर्णय बदलेन ।
गुरुकुलबाट फर्केपछि सबै आ–आफ्नो रुचि अनुसारको आजीविकामा संलग्न भए । वीरकेतुले छ महीना एउटा नामूद डाँकाको टोलीमा रहेर दस्युवृत्तिका दाउपेच सिक्यो र त्यसपछि स्वतन्त्र रूपमा डकैती गर्न थाल्यो । गुरु–डाँकाकै शैली पछ्याएर ऊ अन्यायपूर्वक सम्पत्ति आर्जन गर्नेहरूकहाँ मात्र डकैती गर्थ्यो र लुटेको सम्पत्तिको विपुल अंश गरीब गाउँलेहरूलाई बाँड्थ्यो । मानिसहरू उसलाई समाजसेवीका रूपमा सम्मान गर्थे ।
समय बित्दै जाँदा उसको पेशा धरापमा पर्‍यो । अवैध सम्पत्ति आर्जन गर्ने सबैजना राज्यको उच्च पदमा पुगे र तिनको आवास शस्त्रास्त्रधारी राजकीय सुरक्षाकर्मीहरूद्वारा सुरक्षित हुन थाल्यो । त्यहाँ डकैती गर्ने हैसियत कुनै डाँकाको रहेन । वीरकेतुलाई विपन्नताले गाँज्दै लग्यो । जीवनका अन्तिम दिनहरूमा त उसलाई एक छाक हातमुख जोर्न पनि कठिन भयो ।
धूमकेतु प्रहरी सेवामा प्रवेश गर्‍यो र आफ्नो क्रूर स्वभावका कारण अल्पकालमै प्रजाजनमा आतंकको पर्याय बन्न पुग्यो । ऊ जनसाधारणलाई तुच्छ दृष्टिले हेर्थ्यो र तिनको सुखचैन आफ्नो कृपादृष्टिमा निर्भर रहेको ठान्थ्यो । लुटेरा र ठगहरूसँग उसको अनन्य मित्रता थियो । तिनलाई सुरक्षा दिन र तिनका विरुद्ध आवाज उठाउनेहरूका हातखुट्टा भाँच्न ऊ मध्यरात्रिमा पनि जागरूक रहन्थ्यो । नगरमा हुने प्रत्येक चोरी, डकैती, लूटपाट र ठगीको भाग उसको घरमै आइपुग्थ्यो, जसको भण्डारणका लागि उसले भूमिगत प्रकोष्ठ निर्माण गरेको थियो ।
द्रव्यचक्षु राजकर्मचारीका रूपमा पदोन्नतिका सोपान चढ्दै गयो । राजकीय कोष प्रजाका नाममा खर्च हुनुपर्छ तर त्यसको विवरण गोप्य राखिनुपर्छ भन्ने उसको मान्यता थियो, जसले ऊ र उसका सहकर्मीको भुँडी बढाउन ठूलो योगदान पुर्‍याएको थियो । वणिक–जनबाट प्रहार गरिने चाँदीका जुत्ता र ठूला सेवाग्राहीबाट प्राप्त हुने स्वर्णमुद्रा उसलाई विशेष प्रिय थिए । निरन्तर चाँदीको जुत्ता थाप्नाले उसको निधार गौरवशाली टुटुल्कोबाट सुशोभित भएको थियो भने उसको शयनागारका गर्भे दराजहरू स्वर्णमुद्राले टनाटन थिए ।
वणिक–बुद्धिको अर्थदत्तले नगरसेठ बनेर अथाह सम्पत्ति आर्जन गर्‍यो । ऊ व्यापार–व्यवसायबाट लगानीको दश गुणा र ठेकेदारीबाट बीस गुणा नाफा निकाल्थ्यो । राजाका सम्धी, साला, जेठान, मन्त्री, सेनापति आदिको सम्पत्ति सुरक्षित तवरमा लगानी गरिदिने भएकाले उनीहरूको असीम कृपा उसलाई प्राप्त थियो । फलस्वरूप उसले देशभर अनेकौं सार्वजनिक भूमि, उपवन, जलाशय र पर्वतशिखरहरूको स्वामित्व प्राप्त गर्‍यो । राजपथ र राजकीय भवनहरूको निर्माणको जिम्मा सदैव उसैलाई प्राप्त हुन्थ्यो ।
दस्युमित्र न्यायाधिकरणमा प्रवेश गरेर न्यायको विक्रेताका रूपमा विख्यात भयो । उसले न्यायको दलाली गर्ने बिचौलियाहरूको खेल समाप्त पारेर न्याय प्रदान गर्ने सरल एवं पारदर्शी विधि आविष्कार गरेको थियो । आफ्नो गोप्य कक्षमा वादी प्रतिवादी दुवैलाई राखेर न्यायको लीलाम बढाबढ गराउँथ्यो र बढी बोलकबोल गर्नेको पक्षमा विना पक्षपात फैसला सुनाउँथ्यो । यस क्रममा तीन सय पचपन्न जना निरपराधले मृत्युदण्ड पाएका थिए । करीब दुई हजार अपराधीले उन्मुक्ति प्राप्त गरेका थिए भने झन्डै दुई सय निर्दोषले न्याय खरीद गर्न सफलता हासिल गरेका थिए ।
रिक्तशीर्षले सेतो जामा र पगरी भिरेर छद्म मन्त्र फलाक्तै राजामा अलौकिक शक्ति रहेको घोषणा गर्‍यो र राजकीय गुरुकुलको कुलपतिमा नियुक्ति प्राप्त गरी सुखपूर्वक रहन थाल्यो । ऊ दिनमा तीन पटक राजाको तस्वीरमा धूपधुवाँर गर्दै राजाले लठ्ठी गाडेको ठाउँ पृथ्वीको केन्द्रविन्दु हो र सृष्टिकर्ता ब्रह्माजी त्यहीं उत्पन्न भएका हुन् भन्ने निष्कर्ष लोकलाई सुनाउँथ्यो । राजाको मुखबाट निस्कने प्रत्येक वाक्य ज्ञान, विज्ञान, धर्मशास्त्र, चिकित्साशास्त्र, नीतिशास्त्र, ज्योतिषशास्त्र, भाषाशास्त्र र साहित्यशास्त्रको अन्तिम सत्य हो भन्ने व्याख्या गर्थ्यो । त्यसप्रति असहमत हुनेलाई राजद्रोहको अभियुक्त मानिन्थ्यो र उसमाथि राजकीय अरिंगालहरूद्वारा आक्रमण गराइन्थ्यो ।
भविष्यमा मन्त्री बन्छु भन्ने वज्रमति साँच्चै मन्त्री बन्न पुग्यो र अहर्निश राजाको समीपमा रहन थाल्यो । ऊ राजाको विश्वासपात्र थियो तर उसको विश्वास स्वर्णमुद्रामा मात्र थियो । राज्यका प्रत्येक निकायका अधिकृतले उसलाई हरेक महीना ठेकिएको परिमाणमा स्वर्णमुद्रा नजराना चढाउनुपर्थ्यो । त्यसमा भूलचूक गर्नेहरू राजकोपको शिकार बन्थे । स्वर्णमुद्राको थैलो बोकेर आएको कुनै न कुनै अधिकृत उसको निजी कोषागारको ढोकामा कुनै पनि दिन टुट्तैनथ्यो । प्राकृतिक प्रकोप, महामारी र अनिकालमा समेत वज्रमतिको मति स्वर्णमुद्रा आर्जनमै केन्द्रित रहन्थ्यो । राज्यकोष रित्तिन लाग्दा ऊ राजालाई कर बढाउन सल्लाह दिन्थ्यो र कानमा खुसुक्क भन्थ्यो, ‘अब भगवान्को भव्य मन्दिर बनाउनुपर्छ ।’
सातै जनाको मृत्यु संयोगवश एकै दिन भयो । मृत्यु भएकोमा भन्दा पनि सम्पूर्ण सम्पत्ति पृथ्वीमै छोडेर जानुपरेकोमा उनीहरू दुःखी थिए र प्रेत बनिसक्ता पनि ह्वाँ ह्वाँ रोइरहेका थिए । वीरकेतु मात्र चूपचाप टोलाइरहेको देखिन्थ्यो । यमदूतहरूले उनीहरूलाई एकैसाथ चित्रगुप्तसामु उभ्याए । बहीखाता हेरेर चित्रगुप्तले भने, ‘तिमीहरूमध्ये एक जना स्वर्ग जानेछ र अरू नर्क जानेछौ ।’
यति कथा भनेर वेतालले विक्रमलाई सोध्यो, ‘राजन् ∕ यीमध्ये को स्वर्ग जान योग्य छ र किन ? अरू सबै नर्क जानुपर्ने कारण के हो ? यदि तिमीले जानेर पनि मेरो प्रश्नको उत्तर दिएनौ वा गलत उत्तर दियौ भने तिम्रो शिर यहीं सय टुक्रा हुनेछ ।’
वेतालको वाणीबाट भयभीत विक्रमले जवाफ दिए, ‘यीमध्ये डाँका नै स्वर्ग जान योग्य छ । किन भने अरू सबैले रक्षक र अभिभावकको छद्म भेष धारण गरेर राज्यशक्तिको आडमा प्रजालाई लुटे र अनेक पीडा दिए । त्यो यस्तो पाप हो, जसको फल भोग्न कुम्भीपाक नरकमै पर्नुपर्छ । डाँकाले भने छद्मभेष धारण गरेर प्रजालाई झुक्याएन र तिनलाई मात्र लुट्यो, जसले अन्यायपूर्वक सम्पत्ति आर्जन गरेका थिए । लुटेको अधिकांश सम्पत्ति पनि तिनै प्रजालाई बाँडिदियो, जसका उनीहरू हकदार थिए । बाँकी अंश आफूले उपभोग गरेको सजाय उसले पृथ्वीलोकमै उपवास गरेर भोगिसकेको थियो । त्यसैले उसको पाप कटिसकेको छ र ऊ स्वर्ग जान योग्य छ ।’
विक्रमको जवाफ सुन्नासाथ वेताल शव सहित उडेर फेरि श्मशानमा सिसौको रूखमा पुग्यो । राजा विक्रम पुनः फर्किए र शवलाई बोकेर हिंडे । अनि वेतालले सोह्रौं कथा सुनाउन शुरू गर्‍यो ।

 

Page 11
अर्थ वाणिज्य

५ रिपोर्टको समीक्षा गरिने

- कान्तिपुर संवाददाता

(काठमाडौं)
विश्व बैंकले १७ वर्षदेखि प्रकाशन गर्दै आएको व्यावसायिक वातावरणको सूचकांक (डुइङ बिजनेस रिपोर्ट) प्रकाशन केही समयका लागि स्थगन गरेको छ ।
सन् २०१७ र २०१९ मा प्रकाशित डुइङ बिजनेस रिपोर्टको तथ्यांकमा अनियमितता भएको जानकारी आएको भन्दै विश्व बैंकले तत्कालका लागि रिपोर्ट स्थगन गरेको जनाएको छ ।
‘अक्टोबर २०१७ मा प्रकाशित डुइङ बिजनेस रिपोर्ट २०१८ र २०१९ मा प्रकाशित डुइङ बिजनेस रिपोर्ट २०२० मा तथ्यांक परिवर्तन भएको विषयमा अनियमितताको उजुरी आएका छन्,’ विश्व बैंकले जारी गरेको विज्ञप्तिमा छ, ‘तथ्यांकमा भएको परिवर्तन डुइङ बिजनेस रिपोर्ट तयार पार्ने पद्धतिसँग असंगत छन् ।’
विश्व बैंकले तथ्यांकको निष्पक्ष र सत्यताका लागि तत्काल कदम चाल्ने जनाएको छ । ‘पछिल्ला पाँच डुइङ बिजनेस रिपोर्टको संस्थागत तथ्यांक समीक्षा प्रक्रियापछि देखापरेको तथ्यांक परिवर्तनको विषयबारे हामी प्रणालीबद्ध समीक्षा र मूल्यांकन गर्दै छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्व बैंक समूहको स्वतन्त्र आन्तरिक अडिटलाई तथ्यांक संकलन प्रक्रियाको अडिट र समीक्षा गर्न हामीले अनुरोध गरिसकेका छौं ।’ अध्ययनपछि अनियमितताका कारण प्रभावित देशको तथ्यांक सच्याउने विश्व बैंकको प्रतिबद्धता छ ।
विश्व बैंकका कार्यकारी निर्देशक र तथ्यांकमा भएको अनियमितताका कारण प्रभावित देशका सम्बन्धित निकायलाई यसबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘हामीले मूल्यांकन गरिरहेका कारण डुइङ बिजनेस रिपोर्टको प्रकाशन हाललाई स्थगन गरिएको छ ।’
पछिल्ला दुई रिपोर्टमा उल्लिखित वरीयताक्रमका विषयलाई लिएर नेपालमा समेत विवाद भएको थियो । पछिल्लो पटक नेपाल १६ स्थान माथि उक्लिएर ९४ औं स्थानमा छ ।
विश्व बैंकले हरेक वर्ष व्यवसायसँग सम्बन्धित १० विषयमा अध्ययन गरी व्यावसायिक वातावरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । अघिल्लो वर्ष नेपाल ११०औं स्थानमा थियो । १०५औं स्थानबाट पाँच स्थान तल झर्दा व्यावसायिक वातावरण नभएको भन्दै अर्थमन्त्री युवराज खतिवडाले आलोचना गरेका थिए । विश्व बैंकसँग उनले औपचारिक रूपमा गुनासोसमेत पठाएका थिए । त्यसपछि भएको ९४औं स्थानलाई अत्यधिक सुधार भन्दै सरकारबाहिरका अर्थशास्त्रीहरूले आलोचना गरेका थिए । दुई शीर्षकमा मात्रै उल्लेख्य प्रगति हुँदा समग्र नतिजा राम्रो देखिएकाले विश्व बैंकले सही रूपमा मूल्यांकन गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
१० शीर्षकमध्ये व्यवसाय सुरुवात प्रक्रियामा गत वर्ष ५७.९ र कर्जा उपलब्धतामा ५० अंक थियो । यस पटक नेपालले क्रमशः ६७.३ र ७५ अंक प्राप्त गरेको छ । यी दुई शीर्षकभित्रका केही उपशीर्षकमा उल्लेख्य सुधार भएकाले नेपालको समग्र नतिजा माथि देखिएको हुँदा वास्तविक सुधार भने नभएको अर्थशास्त्रीहरूको भनाइ थियो ।

अर्थ वाणिज्य

प्रहरी हस्तक्षेपपछि अनलाइन डेलिभरी ठप्प

- विजय तिमल्सिना

(काठमाडौं) - नलाइन डेलिभरीमा संलग्न र व्यवसाय सञ्चालन गर्नेलाई बुधबार र बिहीबार प्रहरीले पक्राउ गरेपछि काठमाडौं उपत्यकामा खाद्यान्न र अत्यावश्यक सामग्रीको डेलिभरी ठप्प भएको छ । उपत्यकामा अनलाइन डेलिभरीको सेवा दिइरहेका एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधि र व्यवसाय सञ्चालकलाई प्रहरीले पक्राउ गरी डेलिभरी काम रोक्ने सर्तमा बिहीबार राति छाडेको थियो ।
प्रहरीको अवरोधपछि अनलाइन डेलिभरी सेवा दिइरहेका कम्पनीहरूले निषेधाज्ञा अवधिभर डेलिभरी नगर्ने निर्णय गरेको फुडमान्डुका संस्थापक मनोहर अधिकारीले बताए । अधिकारीलाई बिहीबार प्रहरीले बोलाएर अनलाइन डेलिभरी नगर्ने सर्तसहित कागजमा सही गराएको थियो ।
अधिकारीसहित यूजी केककी संहसंस्थापक निकिता आचार्यलाई पनि प्रहरीले कार्यालयबाट पक्राउ गरी अनलाइन डेलिभरी सेवा सञ्चालन नगर्ने सर्तसहित राति अबेर छाडेको थियो । फुडमान्डु, यूजी केकसहित दर्जनभन्दा बढी कम्पनीले लकडाउन र निषेधाज्ञाको अवधिमा तयारी खानेकुरासहित अन्य अत्यावश्यक खाद्यान्न घरघरमा पुर्‍याएर सेवा दिइरहेका थिए ।
प्रहरी हस्तक्षेपपछि व्यवसाय निरन्तर राख्न माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउन गएको टोलीलाई पनि सरकारले निराश बनाएको छ । नेपाल ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूको साझा फोरमका सागरदेव भट्टसहितको टोलीले शुक्रबार अनलाइन डेलिभरी सेवा निरन्तर गर्न पाउनुपर्ने माग गर्दै प्रमुख
जिल्ला अधिकारी दाहाललाई ज्ञापन बुझाएको थियो ।
तर प्रजिअ दाहालले निषेधाज्ञाका बेला अनलाइन डेलिभरी गर्न नपाइने जवाफ दिएको संयोजक भट्टले जानकारी दिए । ‘प्रजिअले अनलाइन डेलिभरी गर्दा कोभिड–१९ को संक्रमण फैलिन्छ भन्नुभयो,’ उनले भने, ‘हामीले अन्य पसलभन्दा अनलाइन डेलिभरी बढी सुरक्षित भएको तर्क गर्‍यौं ।’ व्यवसायीले अनलाइन डेलिभरी गर्दा अपनाइएको सुरक्षाको उपायका विषयमा पनि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । भेटमा प्रजिअ दाहालले निषेधाज्ञाका बेला अनलाइन डेलिभरी सेवा सञ्चालन हुन दिने निर्णय नभएको भन्दै अर्को निर्णय नभएसम्मका लागि सेवा स्थगन गर्न भनेको प्रजिअ दाहाललाई उद्धृत गर्दै भट्टले बताए ।
गत सातादेखि भदौं १७ सम्म लागू हुने निषेधाज्ञाको अवधिमा उपत्यकामा सर्वसाधारणलाई बिहान सवा ९ बजेसम्म मात्रै किनमेल गर्ने सुविधा दिइएको छ । प्रहरीले बुधबार र बिहीबार अनलाइन डेलिभरी सेवामा सक्रिय व्यक्तिलाई पक्राउ गर्दै डेलिभरी सेवा दिने भए बिहान सवा ९ बजेभित्र दिइसक्न निर्देशन दिएको थियो ।
अनलाइन डेलिभरी सेवा सञ्चालन गर्न नदिने प्रहरी निर्णयको सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा
आलोचना भइरहेको छ । ‘अनलाइन डेलिभरी गर्दा सुरक्षाका उपाय अपनाइरहेका छौं,’ भट्ट भन्छन्, ‘डेलिभरी गर्दा धेरै बेर भेट हुने पनि होइन । त्यति बेला पनि हामीले सामाजिक दूरी कायम गरिरहेकै हुन्छौं ।’
गत बुधबारदेखि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो । अत्यावश्क वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, आद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार जस्ता सवारी सञ्चालन गर्न अनुमति आवश्यक नपर्ने बैठकले बताएको थियो ।
मन्त्रालयले अत्यावश्यक खाद्यान्न सामग्री, स्वास्थ्य तथा सरसफाइ सामग्रीको ढुवानीमा सहजीकरण गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव बैकुण्ठ अर्यालले बताए । ‘तर कुन समयमा ढुवानी गर्न दिने वा नदिने भन्ने विषय हाम्रो क्षेत्राधिकारको कुरा होइन,’ उनले भने ।

अर्थ वाणिज्य

कालीकोटमा जेनेरेटरबाट बिजुली

- तुलाराम पाण्डे

(कालीकोट) - पहिरोले सान्नीगाड साना जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि सदरमुकाम मान्ममा जेनेरेटरबाट विद्युत् उत्पादन गरिएको छ । खाडाचक्र नगरपालिकासहित तीन स्थानीय तहमा विद्युत् लाइन वितरण गरेको आयोजनाको नहरमा साउन १ गते आएको पहिरोले क्षति पुर्‍याएको थियो ।
५ सय किलोवाट क्षमताको विद्युत् आयोजना अवरुद्ध भएपछि सदरमुकाम मान्मसहित ताडी, रेंगिल, रकु, सेरिज्युला, मेहेलमुडी, मुम्रा, स्युना, सिप्खाना र फुकोटका बासिन्दा प्रभावित छन् ।
विद्युत् वितरण केन्द्रले जुम्लाबाट १ सय ६० किलोवाट क्षमताको जेनेरेटर ल्याएर विद्युत् सेवा निरन्तर गरेको हो । पहिरोले भत्किएको नहर मर्मत गर्न कम्तीमा ६ महिना लाग्ने केन्द्र प्रमुख मेघराज जोशीले जानकारी दिए । जेनेरेटरबाट सदरमुकाम मान्ममा बिहान १० देखि दिउँसो २ बजेसम्म र बेलुकी ७ देखि ९ बजेसम्म बिजुली दिन सुरु गरिएको छ । जेनेरेटरबाट दिन बिराएर सबै गाउँमा लाइन दिइरहेको उनले जानकारी दिए ।
जेनेरेटरमा प्रतिघण्टा ५० लिटर डिजेल खर्च भइरहेको वितरण केन्द्रले जनाएको छ । केन्द्रले तत्काल आफ्नै स्रोतबाट जेनेरेटर सञ्चालन गरिरहेको हो । आयोजनाले २ हजार ६ सय घरमा मिटर जडान गरी विद्युत् सेवा प्रवाह गरिरहेको छ । साउन १ गते रातिको अविरल वर्षापछि सान्नीत्रिवेणी–९ मुम्रामा पहिरो जाँदा करिब ३० मिटर नहर बगाएको छ । आपत्कालीन अवस्थाका लागि सदरमुकाममा जेनेरेटरबाट विद्युत् वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनका अनुसार जेनेरेटरबाट विद्युत् प्रवाह भएपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रवाह सहज बनेको छ । यसअघि पनि पहिरोले विद्युत् अवरुद्ध भएपछि पाइप राखेर अस्थायी रूपमा विद्युत् सञ्चालन गर्न नेपाली सेना र सशस्त्र प्रहरी खटाइएको थियो । झन्डै आधा काम सकिएका बेला फेरि पहिरो गएपछि जेनेरेटरको विपल्प खोजिएको उनको भनाइ छ ।

अर्थ वाणिज्य

ई–कमर्सका लागि कानुन बनाउँदै सरकार

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारका लागि सरकारले कानुन बनाउने तयारी थालेको छ । मन्त्रिपरिषद्को बैठकले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ई–कमर्ससम्बन्धी विधेयक बनाउन सैद्धान्तिक स्वीकृति दिएको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारसम्बन्धी विधेयक तर्जुमाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए ।
मन्त्रालयले तयार पार्ने विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि
संसद्मा पेस हुनेछ । नेपालमा पछिल्लो समय दर्जनौं ई–कमर्स खुले पनि यसबारे कानुनी स्पष्टता भने छैन । कोभिड–१९ को महामारीका कारण पछिल्ला महिना ई–कमर्सप्रति उपभोक्ताको आकर्षण पनि छ । घरमै बसेर सामानको अर्डर गर्न पाइने र घरमै आइपुग्ने भएकाले आगामी दिनमा ई–कमर्स व्यवसाय झन् बढ्ने अनुमान छ ।
मन्त्रिपरिषद् बैठकले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष
(आईफ्याड) बाट करिब ११ अर्ब ६५ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरिने खतिवडाले जानकारी दिए ।

Page 12
खेलकुद

सिजन, समीकरण र अन्योल, सबै नयाँ

- कान्तिपुर संवाददाता

एपी (लन्डन) - ईग्लिस फुटबलको नयाँ सिजन त्यही महिना सुरु हुँदै छ, जुन महिना यसको पुरानो सिजन सकिएको थियो । आर्सलनका लागि त सबथोक हतार–हतारकै रह्यो ।
कोरोना भाइरस संक्रमणमको महामारीले छोएको २०१९–२० को सिजनको अन्तिम खेल आर्सनलको थियो । दर्शनविहीन खाली वेम्बलीमा अगस्ट १ मा भएको त्यो खेल एफए कप फाइनल थियो, जसमा आर्सनलले चेल्सीलाई २–१ ले हराएको थियो । अहिले आर्सनल फेरि वेम्बलीमै फर्कंदै छ ।
यसपल्ट पनि दर्शक हुने छैनन् । एफए कप जितेको चार साता बित्दा नबित्दै आर्सनलले लिभरपुलको सामना गर्दैछ, कम्युनिटी सिल्डको खेलमा । यो त्यो परम्परागत खेल हो, जसमा प्रिमियर लिग र एफए कप विजेता आमनेसामने हुने गर्छन् । ‘हामी तयार छौं, हामीसँग अर्को कुनै विकल्प पनि छैन,’ आर्सलनका व्यवस्थापक मिखेल आर्टेटाले भने । उनको आसय पनि प्रस्ट छ, दुई सिजनको अन्तर यति कम नहुनुपर्ने थियो ।
आर्टेटाले टिमको राम्रो तयारी गर्न पाएका छैनन् । उनकै भाषामा जम्माजम्मी अभ्यासको दुई ‘सेसन’ मात्र भएको छ । स्पेनी प्रशिक्षकका लागि सबथोक चाँडै चाँडै हतारमा गर्नुपरेको थियो । प्रिमियर लिगका अन्य क्लबको स्थिति पनि यही हो र यसले देखाउँछ अबको सिजनमा धेरै अन्योलता रहनेछ । यसको प्रमुख कारण भने उही हो, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो सिजन निकै लम्बिएको छ । यसको असर अझै धेरै देखिने छ ।
आर्टेटाले ठीकै भनेका छन्, ‘कोभिड–१९ का बेला सबथोक सुस्त थियो । ढिलो समय चलिरहेको थियो । अब सबैलाई हतारो मात्रै छ । उनी आफैं यस संक्रमणको चपेटामा आए, जतिबेला मार्चतिर लिग रोकिएको स्थिति थियो । आर्टेटाले थपेका छन्, ‘यसपल्ट धेरै चोटग्रस्त खेलाडी देख्न पाइनेछ । के हुने हो, ठ्याक्कै उत्तर छैन । त्यसैले हामी त्यो नयाँ सिजनतर्फ अग्रसर छौं, जहाँबाट सबै उत्तर आउन बाँकी छ । हामी सकेसम्म आफ्ना खेलाडीलाई बचाउने प्रयास गर्नेछौं ।’
त्यसै कारण उनी आफ्ना खेलाडीले वैज्ञानिक र शारीरिक दुवै कोणले खेलाडीलाई सक्दो उच्च स्थितिमा राख्ने प्रयासमा हुनेछ । तर अबका सिजन के कस्तो हुनसक्ने हो, कसैले पनि रत्ति अनुमान गर्न सकेका छैनन् । उपलब्ध सबै उपाधिमा आँखा लगाउने क्लबका लागि त पटक्कै सजिलो छैन । खाली यिनले एकपछि अर्को खेलिरहनुपर्नेछ, त्यो पनि निकै कम समय अन्तरमा । यस्तो महत्त्वाकांक्षा बोक्ने क्लब आर्सनल भयो नै, लिभरपुल त पक्कै रहेनछ ।
त्यसैले यी दुवै क्लब आफ्ना खेलाडीलाई बीच–बीचमा फुटबलको भीडभाडबाट टाढा राख्नै पनि व्यस्त रहनेछ । अर्को तथ्य के हो भने यी दुवै टिम उपाधिका लागि मरिमेट्ने खालका छन् । जस्तो लिभरपुल । उसले यसपल्टको कम्युनिटी सिल्ड फरक भूमिकामा खेल्दैछ, त्यो भनेको लिग विजेताका रूपमा । पछिल्लो सिजन यो क्लब निकै नराम्रोसँग व्यस्त रह्यो । जुनमा लिग जितेको लिभरपुलले १३ महिना जति मैदानमा बितायो भन्दा हुन्छ ।
यसबीच लिभरपुलले क्लब वर्ल्डकप जित्यो । तर योर्गन क्लोपको टिमका लागि सबैभन्दा ठूलो त लिग उपाधि नै थियो, जुन ३० वर्षको अन्तरपछि हात परेको थियो । पछिल्ला केही समय कप्तान जोर्डन हेन्डरसनले कप उचाल्नु, त्यसअगाडि आफ्नो फरक शैलीमा पाइला चाल्नु अनि त्यसको छेउछाउमा बसेर खुसीयाली मनाउनु इंग्लिस फुटबलका लागि अब नयाँ रहेन । बानी पर्‍योभन्दा हुन्छ । त्यसो त शनिबारको दिन उनी मैदानमा हुने छैनन् ।
उनले नयाँ सिजनका लागि राम्रोसँग तयारी नै गर्न पाएका छैनन् । भर्खरजसो घुँडाको चोटबाट पूर्णतः निको हुने बाटोमा छन् उनी । अन्यथा लिभरपुल टिम उही हो, उनै अनुहार, सबैले चिनेका । खाली ओलम्पियाकोजबाट आएका कोस्टास सिमिकासमात्र नयाँ रहनेछन् । उनी एन्ड्र्यु रोबर्टसनका लागि जगेडा ‘लेफ्ट ब्याक’ हुनेछन् । बरू खेलाडी ‘ट्रान्सफर’ बजारमा आर्सनल नै बढी व्यस्त रह्योभन्दा हुन्छ, उसको कामकुरो चलायन रह्यो ।
उसले कुनै चर्को मूल्य नतिर्नुपर्ने गरेर ब्राजिली विंगर विलियन भित्र्याएको छ, त्यो पनि चेल्सीबाट । आर्सनल लिलेबाट ब्राजिली ‘सेन्टर ब्याक’ ग्याब्रियल मागालेहेस ल्याउने तर्खरमा छ । डिफेन्डर सेडरिक सोरेस र पाब्लो मारीले पनि आर्सनलसँग स्थायी खाले अनुबन्ध
गरेका छन् । यी सबैका बाबजुत पनि आर्सनललाई त्यतिबेला मात्र सफल मान्न सकिनेछ, जतिबेला उसले आफ्ना कप्तान पिएरे एमरिक अबामेयाङसँग नयाँ अनुबन्ध गर्न सक्नेछ ।
यी दुईबीच अहिलेको अनुबन्ध भने यो सिजनको अन्त्यसँगै सकिनेछ । त्यस्तो भए उनी अन्यत्र कतै बिनामूल्य जान सक्नेछन् । आखिरमा अबामेयाङ नै त्यस्ता खेलाडी हुन्, जसले एफए कपको फाइनलमा गोल गरेका थिए अनि त्यसैको मदतमा आर्सनल अहिले फेरि वेम्बलीमा खेल्नलाई हकदार भएको छ । आर्टेटा थप्छन्, ‘हाम्रा सबै खेलाडी उत्प्रेरित छन्, हामीसँग फेरि एक अर्को उपाधि जित्ने अवसर अगाडि आएको छ र हामी यसका लागि मिहिनेतले खेल्नेछौं ।’

 

खेलकुद

एकैपल्ट ‘डबल हेडर’

- कान्तिपुर संवाददाता

लन्डन (रोयटर्स)– यसपल्टको कम्युनिटी सिल्ड पहिलोपल्ट ‘डबल हेडर’ हुने भएको छ, इंग्लिस एफएले घोषणा गरेअनुसार शनिबार वेम्बलीमा एकैपल्ट दुई खेल हुनेछ । यो दिन महिला र पुरुषको खेल एकैपल्ट हुनेछ । दिनको पहिलो खेल वुमेन्स सुपर लिग च्याम्पियन चेल्सी र एफए कप विजेता म्यानचेस्टर सिटीबीच हुनेछ ।
त्यसपछि मात्र लिभरपुल र आर्सनलबीचको खेल हुनेछ । पुरुषतर्फ गत वर्षको खेलमा सिटीले लिभरपुललाई टाइब्रेकरमा ५–४ ले हराएको थियो । एफएका प्रमुख कार्यकारी मार्क बुलिङघमले भनेका छन्, ‘शनिबार लगातार दुई रोमाञ्चक खेल हुनेछ । यसले यो दिन अझ विशेष साबित गर्नेछ र सबै टिमले राम्रो खेल्ने विश्वास छ ।’ चेल्सी र सिटीबीचको महिला खेलसँगै इंग्लिस महिला फुटबलको नयाँ सिजन पनि सुरु हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण पछिल्लो लिग बीचमै रद्द गरिएको थियो । प्रत्येक खेलमा जितेको औसत अंकका आधारमा चेल्सीलाई लिग विजेता घोषित गरिएको थियो । चेल्सीले लिगको आफ्नो पहिलो खेलमा महिला म्यानचेस्टर युनाइटेड टिमको सामना गर्नेछ । 

खेलकुद

‘लिभरपुल उपाधिको अझै भोको’

- कान्तिपुर संवाददाता

लन्डन (रोयटर्स)– इंग्लिस प्रिमियर लिग जितेयता पनि लिभरपुलको उपाधि जित्ने भोक अझै मेटिएको छैन । कप्तान जोर्डन हेन्डरसन यस्तै मान्छन् । उनी भन्छन्, ‘थप उपाधि जित्नका लागि लिभरपुलले अझै मिहिनेत गर्नेछ ।’ लिभरपुलले ३० वर्षको पर्खाइपछि माथिल्लो डिभिजनको लिग जितेको थियो । त्यो सफलता दोस्रो स्थानको पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीमाथि १८ अंकको अग्रता लिँदै पाएको हो ।
लिगमा हेन्डरसनले ३० खेलमात्र खेले । घुँडाको चोटका कारण उनी अधिकांश समय आरामै रहे । उनी आफ्ना खेलाडीलाई अझ राम्रो खेल्न उक्साइरहेका छन् । उनले भनेका छन्, ‘हामी एक अर्को सिजन सुरु गर्दै छौं । हाम्रो प्रदर्शन अझ राम्रो हुनुपर्छ । उपाधिका लागि खेलाडीमा भोक हुनुपर्छ ।’
यी इंग्लिस मिडफिल्डरले थपेका छन्, ‘हामी सक्दो बढी उपाधि जित्न चाहन्छौं । हामीले पछिल्लो केही सिजनयता सिद्ध पनि गरेका छौं, हामी अब्बल दर्जाको टिम हौं । फेरि यो सबै खेलाडीको समर्पणले प्राप्त भएको हो, कडा मिहिनेतले सम्भव भएको हो । यो सिजनका लागि हामी निकै उत्साही छौं ।’
कम्युनिटी सिल्डमा आर्सनलको सामना गरेपछि योर्गन क्लोपको लिभरपुलले लिगमा लिड्स युनाइटेडविरुद्ध पहिलो खेले खेल्नेछ । यो खेल सेप्टेम्बर १२ हुनेछ । हेन्डरसनले भनेका छन्, ‘पहिलो खेलमा राम्रो प्रदर्शन आवश्यक हुने गर्छ, किनभने हामीलाई यो सिजन पनि उपाधिहरू जित्नु छ । लिगमा नियमित राम्रो प्रदर्शन आवश्यक हुन्छ ।’