You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

आजदेखि देशभर यातायात सञ्चालन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– उपत्यकामा होटल/रेस्टुराँसहित सबै व्यापार–व्यवसाय बिहीबारबाट सञ्चालन हुने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबै खालका उद्योग–व्यवसाय चलाउन दिने भएका हुन् । अत्यावश्यक र निर्माण सामग्रीबाहेकका सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायमै रहनेछ । अब उपत्यका प्रवेश र बाहिर जान पनि पाइनेछ ।
०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन १ सय २० दिनपछि साउन ६ गते अन्त्य गरिएको थियो । त्यसपछि होटल/रेस्टुराँ, पसल, कलकारखाना सञ्चालनलगायतका आर्थिक गतिविधि चलायमान हुँदै थिए । तर उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमण बढेपछि प्रशासनले अत्यावश्यकबाहेकका सेवामा भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । भदौ २४ गतेबाट व्यापार–व्यवसाय सर्तसहित सञ्चालन अनुमति दिइएको थियो । होटल/रेस्टुराँलाई भने टेक–अवे र होम डेलिभरी सेवा सञ्चालन गर्न मात्रै आदेश दिइएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्बाट भएका निर्णयसँग नबाझिने
गरी निषेधाज्ञाको मोडालिटीमा हेरफेर
गरिएको बताए । निषेधाज्ञाको नयाँ ढाँचा सार्वजनिक गर्नुअघि प्रजिअहरू काठमाडौंका जनकराज दाहाल, भक्तपुरकी हुमकला
पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टले
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग छलफल गरेका थिए । ‘बिहीबारबाट आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर होटल/रेस्टुराँलगायत सबै व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञाको स्वरूप परिवर्तन गरेका छौं,’ प्रजिअ दाहालले भने ।

‘जात्रा, जुलुस, विरोधसभा, भेला, धार्मिक गतिविधि, शैक्षिक संस्था, सिनेमा हल, सैलुन/ब्युटीपार्लर, जिमखाना, अन्य समूहगत खेललगायत क्षेत्रलाई अर्को आदेश नभएसम्म निषेध नै गरिएको छ,’ उनले भने । मन्त्रिपरिषदले भदौ १ मा संक्रमणको जोखिम भएका स्थानमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सबै निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई प्रत्यायोजन गरेको थियो ।
लामो दूरीका सवारीमा आधा मात्रै यात्रु
लामो दूरीको सार्वजनिक यातायात सेवा ६ महिनापछि खुल्दै छ । कोरोना संक्रमण बढ्न थाल्दा सरकारले चैत ११ मा लकडाउन लागू गरेर लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । बीचमा लकडाउन हटाइए पनि सार्वजनिक यातायात खुलाइएको थिएन । सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको हो । सवारी साधनहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउनुपर्नेछ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले विश्वकर्मा पूजा गरेर गाडी चलाइने बताए । ‘६ महिनादेखि गाडी चल्न पाएका छैनन्,’ उनले भने, ‘लामो दूरीका गाडी तुरुन्तै चलाइहाल्न सकिने अवस्था छैन । प्राविधिक जाँच गराएर मात्र सञ्चालनमा ल्याइनेछ ।’ मध्यम र छोटा दूरीका सवारी सञ्चालनमा भने समस्या नभएको उनले बताए । ‘लामो समयदेखि थन्किएर बसेका गाडीका पार्टपुर्जा जाम भएर दुर्घटनामा पर्ने जोखिम हुन्छ,’ उनले भने, ‘त्यसैले क्रमशः मर्मत गर्दै सञ्चालनमा आउँदै जानेछन् ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा मजदुर ट्रेड युनियन नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लामा, मध्यम, छोटो र स्थानीय रुटमा सबै गाडी सञ्चालनमा आउने उल्लेख गरेका छन् । महासंघका महासचिव सरोज सिटौलाका अनुसार यात्रु र गाडी स्टाफका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर टिकट काट्ने व्यवस्था गर्नुपर्ने भएको छ । ‘काउन्टरमा बस्ने कर्मचारीले पनि स्वास्थ्य सावधानी अपनाउनुपर्छ र टिकट काट्न आउने यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ,’ उनले भने । उनका अनुसार पहिलो चरणमा मुख्य–मुख्य काउन्टरबाट टिकट लिने व्यवस्था गरिने छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै यसको कार्यान्वयन कसरी गर्ने भन्नेबारे बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा छलफल भएको थियो । ‘सहमतिअनुसार स्वास्थ्य सुरक्षालाई ध्यान पुर्‍याएर सवारी सञ्चालनमा आउने छन्,’ हमालले भने । यातायात व्यवसायीले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए । ‘लामो दूरीका सवारी प्रयोग गर्दा यात्रुका लागि विश्राम गर्नुपर्ने, चिया, खाजा र खाना खानुपर्ने हुन्छ,’ उनले भने, ‘ती ठाउँको के कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि छलफल भएको छ ।’
हमालका अनुसार कोरोना महामारीअघि जुन जुन ठाउँमा गाडी खाजा खान रोकिन्थे, ती ठाउँमा स्थानीय तह, ट्राफिक प्रहरी र स्थानीय प्रशासनलाई परिचालन गराएर अनुगमन गराई सञ्चालन गर्ने सहमति भएको छ । सरकारले लामो दूरीका सवारीमा तोकेको मापदण्डअनुसार कुल सिट क्षमताको आधा मात्र यात्रु बोक्नुपर्ने छ । यसरी यात्रु बोक्दा ५० प्रतिशत बढी लिन पाइने गरी निर्णय भएको छ । यात्रुलाई गाडीमा उभ्याउन पाइने छैन । यात्रुले सेनिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ । ‘एक जिल्लाबाट अर्को जिल्ला आउजाउ गर्दा पीसीआर परीक्षण गरेको हुनुपर्ने भन्ने अहिले छैन,’ उनले भने । टिकट अनलाइनबाट पनि काट्न सकिने छ । ‘नभए जुन जुन कम्पनीको टिकट काउन्टर छ, त्यहींबाट काटेर जान पाइने छ,’ उनले भने, ‘जहाँ जहाँ काउन्टर छ, त्यहाँबाट लिन पाइने छ ।’ हमालले बिहीबारबाट एकैचोटि सबै गाडी सञ्चालनमा आउने भन्ने कुरा नभएको बताए । ‘जुन जुन गाडी प्राविधिक रूपमा चलाउन योग्य छन्, ती चल्छन्,’ उनले भने, ‘बाँकी गाडी आवश्यकताअनुसार थपिँदै जाने छन् ।’ अत्यावश्यक कामबाहेक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेकाले त्यहीअनुसार यात्रा गर्नुपर्ने उनले बताए । ‘नागरिकले जिम्मेवार भएर यात्रा गर्नुपर्छ,’ उनले भने ।
ॅ५० प्रतिशत यात्रु लिएर उडान गर्न सक्दैनौं’
सिट क्षमताको आधा मात्रै यात्रु राखेर सेवा सञ्चालन गर्न वायुसेवा सञ्चालकहरूले मानेका छैनन् । सरकारले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उड्नुपर्ने नियम बनाएकोप्रति असहमति जनाउँदै आन्तरिक वायुसेवा सञ्चालक संघमा आबद्ध निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने जनाएका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर बिहीबारदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको थियो । तर, संघमा आबद्ध निजी वायुसेवाहरूले यो व्यवस्थामा तत्काल उडान गर्न असमर्थ रहेको जानकारी गराउँदै बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पर्यटन सचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई नियमित उडान तत्काल नगर्ने भन्दै पत्र पठाएका छन् ।
संघका प्रथम उपाध्यक्ष अनोज रिमालले छिमेकी मुलुक भारतलगायत विश्वका अन्य मुलुकमा सामाजिक दूरी राखेर सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने नियम नभएकाले आफूहरूले सरकारको यो व्यवस्था नमान्ने बताए । उनले अन्तर्राष्ट्रिय उडानमा यो नियम नभएको बताउँदै त्यहाँ लागू गरिएको ७२ घण्टाको पीसीआर पनि पूर्ण विश्वास गर्न सकिने विधि नभएको दाबी गरे । ‘हामी मास्क, फेस सिल्ड दिन्छौं, शौचालय जान पाइँदैन, इन–फलाइट सर्भिस हुँदैन,’ यति एयरलायन्सका सीईओसमेत रहेका रिमालले भने, ‘स्वास्थ्यसम्बन्धी बनाइएका मापदण्ड पालना गर्दै उडान गर्दा संक्रमणको जोखिम अत्यन्त न्यून रहन्छ ।’
सरकारले कुल सिटको ५० प्रतिशत मात्रै यात्रु राख्दा अहिले भाडादर वृद्धि गरिदिने भनेको थियो । तर, व्यवसायीहरूले टिकटदर बढाउने विषयमा पनि असहमति जनाएका छन् । ६ महिनादेखि बन्द वायुसेवा उद्योगले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान सञ्चालन गर्न नसक्ने जनाउँदै यो व्यवस्था खारेज भएमा मात्रै सेवा सुचारु गर्ने भनेका छन् ।

मुख्य पृष्ठ

फिर्त्याउने पहल नहुँदा चोरीका सम्पदा विदेशतिरै

- देवेन्द्र भट्टराई

(काठमाडौं) - इराक–कुवेत युद्ध थामिएपछि तत्कालीन सभामुख रामचन्द्र पौडेलको नेतृत्वमा नेपालबाट एउटा संसदीय टोली कुवेत गएको थियो । त्यही भ्रमण टोलीलाई एक जना ब्रिटिस मूलकी महिलाले आफ्नो व्यक्तिगत म्युजियमको भ्रमणका लागि ताकेता गरिन् । ती महिलाको घरमा पुग्दा भित्री कोठाको भित्तामा सिसा फ्रेममा सजाएर राखिएको देखियो— हाम्रा भैरवको तान्त्रिक लुगा (ड्रेस) ।
उक्त टोलीमा सहभागी प्रतिनिधि रमेशनाथ पाण्डेले त्यसबारेमा चासो राखे । तर, तत्काल फलो–अप गरिएन वा सम्भव पनि भएन । किनभने कुवेतमा नेपाली दूतावास स्थापना भएकै थिएन । ‘त्यो हाम्रो संस्कृति र सभ्यतामा जोडिएको सम्पत्ति थियो तर कुवेतमा कसरी पुग्यो भन्ने सरोकार कहिल्यै पनि अघि बढेको मैले पाइनँ,’ पाण्डे सम्झन्छन् ।
पाटनको नारायण मन्दिरबाट ३६ वर्षअघि चोरिएको पुरातात्त्विक महत्त्वको ‘वासुदेव कमलाजा मूर्ति’ अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शन भएपछि मात्रै गत मंसिरमा यसबारे जानकारी बाहिर आयो । सन् १९८९ मा प्रकाशित लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेत उल्लेख भएको यो मूर्ति सन् १९८४ मा चोरी भएको जनाइएको छ । ‘सांस्कृतिक सम्पत्ति आयात–निर्यातमा प्रतिबन्ध लगाउनेबारेको अभिसन्धिका आधारमा यो मूर्तिलाई नेपाल फर्काउन सकिने’ भन्दै पुरातत्त्व विभागले परराष्ट्र मन्त्रालय, इन्टरपोल निकाय आदिमार्फत पत्राचार पनि गर्‍यो । ‘पत्राचार गरिएको हो तर अहिलेसम्म कुनै ठोस जवाफ आएको छैन,’ विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका पाण्डे भने ‘यसरी पत्राचार गरिएको हो तर जवाफ आएन’ भनेकै भरमा आफ्नो सम्पदाको पहिचान र अपनत्व कायम हुन नसक्ने बताउँछन् । सन् १९८५ को नोभेम्बरमा सम्पन्न संयुक्त राष्ट्रसंघको ४० औं महासभा बैठकमा आफूले पेस गरेको र अनुमोदनसमेत भइसकेको ‘सांस्कृतिक सम्पत्ति फिर्ता गर्नेसम्बन्धी प्रस्तावना’ का आधारमा पनि चोरिएर कहीं, कतै पुगेका सम्पदा फर्काउन सम्भव हुने पाण्डेले बताए । ‘यस्ता काममा आफ्नो सम्पदाको अवस्थिति टुंगो भइसकेपछि राष्ट्रसंघीय निकाय स्वयंले सम्बद्ध मुलुकलाई पत्राचार गर्दै सम्पदालाई उत्पत्ति भएको मुलुकमा फर्काउन सक्छ,’ उनले भने ।
झन्डै ३५ वर्षअघि काठमाडौं उपत्यकाबाट हराएर एकैचोटि ३ वर्षअघि अमेरिकाको मेट्रोपोलिटन कला संग्रहालयमा फेला परेका उमामहेश्वर र बुद्धको मूर्ति घर फर्काउन न्युयोर्कस्थित तत्कालीन महावाणिज्यदूत मधु मरासिनीले विशेष पहल गरेका
थिए । यी दुवै मूर्ति ८ सय वर्ष पुराना हुन् । उमामहेश्वरको मूर्ति पाटनको टंगालहिटीमा र बुद्धको पूर्णकदको मूर्ति काठमाडौंको यट्खाटोलमा थिए । ‘यस्ता सम्पदामाथि आफ्नो हकदाबी
र प्रमाण दरिलो बनाएर प्रस्तुत
हुन सक्नुपर्छ, यति गर्न सकेमा विदेशीहरू पनि यसरी चोरिएको वा हराएको सामग्रीलाई प्रदर्शनीमा राख्न वा लिलाम प्रक्रियामा लैजान हच्किन्छन्,’ हालै नेपाल सरकारको सचिव पदमा पुगेका मरासिनी
भन्छन् ।

‘हामीले प्रमाण पुर्‍याएर आफ्नो सम्पदाको दाबी गर्नासाथै सम्बन्धित म्युजियम वा प्रदर्शनी निकायले त्यसलाई ‘डिस्प्ले’ बाट हटाएकै हुन्छन् । उमामहेश्वर र बुद्ध मूर्तिको हकमा पनि हाम्रो प्रामाणिक हकदाबीले काम गरेको थियो,’ उनले भने ।

सजिलै चोरिन्छ, भेट्नै मुस्किल
दुई वर्षअघि ‘नेपाल्ज स्टोलन गड्स’ शीर्षकमा एउटा शोधमूलक सामग्री अलजजिरा अनलाइन प्रिन्टमा आएपछि मुस्ताङका कतिपय सचेत र कला अनुरागीले आफ्नै गाउँठाउँबाट चोरी भएका दर्जनौं सम्पदा र मूर्तिबारे जानकारी पाए । उपल्लो मुस्ताङवासी प्रदेश सांसद इन्द्रधारा विष्टका बुझाइमा प्राकृतिक सौन्दर्य र सम्पदाका आधारमा संसारकै १० उत्कृष्टमध्येको एक पर्यटकीय गन्तव्य रूपमा मानिने लोमान्थाङ बाहिरी विश्वका लागि खुला गरिएपछि चोरी र सम्पदा असुरक्षा बढेको मानिँदै आएको छ । ‘मैले यहाँको सम्पदा सुरक्षा र चोरीका घटनाबारे प्रदेश संसद्मा कुरा उठाउँदै आएको छु,’ विष्टले भने, ‘तर कसैले व्यक्तिगत तहमा राखिएका बहुमूल्य सामग्री पनि कसैलाई बिक्री गर्छ अथवा उपहार दिन्छ भने त्यसलाई रोक्न मुस्किल छ । कतिपय मूर्ति वा सम्पदा हराएको र चोरिएको घटना यसरी व्यक्तिगत कारणले पनि बढेको देखिन्छ ।’
लोमान्थाङवासी अर्का सम्पदाप्रेमी राजु विष्टले दिएको सूचनामा ‘हराएका वा चोरिएका मूर्ति, थाङ्का, ग्रन्थ वा कुनै सम्पदा चोरिएर के–कता पुगेको छ, कसरी हराएको हो भन्ने थाहा पाउनै वर्षौं लाग्ने गरेको’ स्थिति कायमै छ । ‘झिलिङ गुम्बाको थाङ्का चोरिएको वर्षौं भयो । चराङ दरबारबाट हस्तलिखित त्रिपिटकको एक भाग चोरिएको छ । लुरी गुम्बाबाट पनि थाङ्का चोरिएको छ,’ विष्ट भन्छन्, ‘सम्पदा चोरिन्छ तर के–कसरी–किन थाहा पाउनै मुस्किल हुन्छ । चोरिएपछि फर्किएर आउला भन्ने आशा त एकदमै कम राखे हुन्छ ।’
उनका अनुसार यसरी केही बहुमूल्य वस्तु चोरिएर गैसकेपछि पनि थाहै नहुने अवस्था भनेको ‘अभिलेखीकरण’ नभएरै हो । बरु अहिले भने पुरातत्त्व विभागको सहयोगमा घामी, कागबेनी, नाम्गेलका गुम्बाको कागजात र अन्य दस्तावेज अभिलेखीकरण भइसकेको छ । ‘सरकारले तोकेको नियममा १ सय बर्ष पुराना सामग्रीहरू कहींकतै बाहिर लैजान दिइन्न तर कतिपय गुम्बाले भने झन् भित्री कुरा (रहस्य) बाहिर जान सक्छ भनेर अभिलेखीकरण गर्न चाहेकै छैनन्,’ उनी भन्छन् ।
सम्पदाबिद् रवीन्द्र पुरीका अनुसार यस्ता प्राचीन मूर्ति वा सम्पदा के, कहाँ र कति चोरी भएको छ भन्ने यकिन शोध सामग्री वा रेकर्ड कहींकतै राखिएको छैन । न पुरातत्त्व विभागले यसको सांगोपांगो चित्र दिन सक्छ । लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) पछि यसरी बृहत् रूपमा अरू शोध हुन सकेकै छैन भने पनि हुन्छ । कला–सम्पदाबारेको यो शोध पुस्तकमा २ सय ७७ वटा नेपालबाट चोरिएका मूर्तिहरूको विवरण उल्लेखित छ । यतिसम्म कि पछिल्ला चोरी र सम्पदा हराइरहेका घटनाबारे सोधपुछ वा छानबिनसम्म पनि हुने गरेको छैन । जस्तो ः गत मंसिर पहिलो सातामा भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको अष्टबाहुल नारायणको मूर्ति चोरिएपछि त्यसबारे कुनै प्रकारको अनुसन्धान हुन सकेकै छैन, जबकि त्यो मूर्ति सशस्त्र सुरक्षा प्रहरीकै घेरामा रहेको थियो । यो मूर्ति अहिलेसम्म न भेटिएको छ, न यसबारे खोजीनितीमा पुरातत्त्व विभाग र स्थानीय निकायले चासो नै दिएका छन् ।
वासुदेव कमलाजा मूर्ति कहाँ छ ?
पाटनको नारायण मन्दिरबाट ३६ वर्षअघि चोरिएको पुरातात्त्विक महत्त्वको वासुदेव–कमलाजा मूर्ति अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शित भएपछि गत वर्ष मंसिरमा मात्रै यसबारे चियोचर्चो सुरु भयो । कला–सम्पदाका अनुसन्धाता लैनसिंह
वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) कृतिमा समेत उल्लेखित यो मूर्ति के–कसरी, कहिले अमेरिका पुग्यो भन्ने सोधखोज भएकै छैन ।
न्युयोर्कस्थित जोन–जे कलेजमा ‘आर्ट क्राइम’ विषयमा प्राध्यापन गर्ने इरिन एल थोम्सनले पहिलोपटक डल्लास म्युजियममा प्रदर्शनीमा राखिएको मूर्तिबारे अनुसन्धानमूलक लेख लेखेकी थिइन् । उक्त लेखमा नेपालबाट चोरिएको ‘वासुदेव कमलाजा मूर्ति’ पहिलोपटक सन् १९९० मार्च २२ मा बहुराष्ट्रिय बिक्रेता कम्पनी ‘सुथबि’ ले न्युयोर्कमा लिलामीमा राखेको खबर आएको जानकारी दिँदै प्राध्यापक इरिनले यसबारेको प्रारम्भिक सूचना बाहिर ल्याउने काम पत्रकार कनक दीक्षितले गरेको जनाएकी छन् ।
न्युयोर्कमा एउटा निजी संग्रहालय ‘डेभिड टी ओस्ले ग्यालरिज अफ साउथ एसियन आर्ट’ मा रहेको उक्त मूर्ति ओस्ले स्वयंले डल्लास म्युजियमलाई ३० बर्षका लागि प्रदर्शनी भाडामा दिएको देखिन्छ । त्यही मूर्ति डल्लास म्युजियममा पुगेको र गत वर्ष नोभेम्बरमा प्रदर्शनमा आएपछि यसबारे प्राध्यापक इरिनले चोरिएको नेपालको सम्पदाबारे ट्वीटरमा उल्लेख गरेकी थिइन् । तर, न्युयोर्कमै प्रदर्शनमा आइसकेको र बितेको ३० वर्षसम्म ‘गुमनाम’ बनेको उक्त सम्पदाबारे अमेरिकामा रहेको नेपाली समाज र नेपालका कूटनीतिक नियोगहरूले कहिल्यै सरोकार राखेको देखिएन ।
‘मैले गत वर्ष नोभेम्बरमा यो नेपालको सम्पदाबारे म्युजियमको ध्यानाकृष्ट गरेकी थिएँ, म्युजियमले डिसेम्बरमा ‘यसबारेमा ध्यान दिइने’ भन्दै जवाफ दिएको थियो,’ प्राध्यापक इरिनले कान्तिपुरसँग भनिन् । उनका अनुसार चोरिएको यो मूर्तिबारे गत बर्ष नोभेम्बरमा सूचना बाहिर आएपछि डल्लास म्युजियमले यो मूर्तिलाई ‘डिस्प्ले’ मा राखेको छैन । म्युजियमले यो सम्पदाबारे नेपाली सम्बद्ध ‘अथोरिटी’ सँग सम्पर्क भइसकेको जानकारी दिएको छ । तर, यसरी ‘अथोरिटी’ भनिएको अमेरिकाको वासिङ्टन डीसी र न्युयोर्कस्थित कूटनीतिक नियोगहरू यो मूर्ति फर्काउने प्रक्रियामा उदासीन देखिन्छन् । अथवा, केही भइरहेको भए पनि जवाफ दिन रुचाउँदैनन् ।
यता पुरातत्त्व विभागका अधिकारीहरू यो मूर्ति फर्काउन परराष्ट्र र इन्टरपोलमार्फत ‘पत्राचार भए पनि जवाफ आइनसकेको’ कामचलाउ जवाफ मात्रै दिइरहेका छन् । नेपालले हस्ताक्षर गरिसकेको सांस्कृतिक सम्पदाको अवैध कारोबार नियन्त्रणसम्बन्धी राष्ट्रसंघीय अभिसन्धिले प्रमाणसहित दाबी पेस गर्न सकिए हराएका मूर्तिहरू विदेशबाट फिर्ता ल्याउन सकिने प्रबन्ध गरेको भए पनि यसमा तदारुकता खासै देखिन्न ।
अमेरिकी प्राध्यापक इरिन एल थोम्सनका बुझाइमा पनि ‘पछिल्ला वर्षमा कला–सम्पदाका बारेमा रुचि राख्ने धेरै अमेरिकी नागरिक विगतमा जस्तो कुनै संग्रहालय वा कलाको त्यत्तिकै प्रशंसा गर्न चाहँदैनन् । बरु त्यहाँ रहेको मूर्ति/पुरातात्त्विक सामग्रीको ‘ओरिजिन’ बुझेर मात्रै कलाको गहिराइमा छिर्न चाहन्छन् ।’ धेरै कुरा पढेर, बुझेर र देखेर कला पारखीहरू ‘सचेत’ बन्दै गएको बताउँदै उनले चोरिएका, खोसिएका वा अधिनस्थ बनाइएका मुलुकबाट लुटेर ल्याइएका पेन्टिङ/मूर्ति वा सम्पदाको ‘डरलाग्दो कथा’ का धेरै पात्र–प्रवृत्तिहरू बाहिर आइसकेका कारण उपयुक्त प्रमाण तथा हकदाबी जनाउनासाथ यस्ता सम्पत्ति घर फिर्ता हुन सक्ने स्थिति रहेको बताइन् । ‘अमेरिकीहरू यसरी चोरिएका र उत्पत्ति मुलुकमा हराइरहेका सम्पदा आफ्ना म्युजियममा राखेर गौरवबोध गर्न सक्ने अवस्थामा छैनन्,’ थोम्सनले भनिन्, ‘यही कला–सम्पदाको इतिहास र प्रमाणका आधारमा मैले डल्लास म्युजियममा रहेको नेपाली मूर्तिबारे आवाज उठाएकी हुँ । धन्य, यो अहिले ‘डिस्प्ले’ बाट हटाइएको रहेछ, नेपाल फिर्ता लैजाने कुरामा नेपाल सरकारको प्रक्रिया र तदारुकता अपेक्षित छ ।’
अमेरिकामाझैं बेलायतमा पनि अड्केर बसेका नेपाली सम्पदा–मूर्तिको कथा अलग छ । झन्डै ९ सय वर्ष पुरानो इतिहास पुष्टि हुने १४ वटा पुरातात्त्विक महत्त्वका मूर्तिहरू बेलायतमा भेटिएको र तिनलाई फर्काउने प्रक्रिया अघि बढेको भन्दै २०७२ फागुनमा सूचना दिने पुरातत्त्व विभागले ती सम्पदा फिर्ता ल्याउन अझै सकिरहेको छैन ।
फ्रान्सको लियोंमा २०१५ को मार्चमा सम्पन्न हराएका पुरातात्त्विक सम्पदाको इन्टरपोल सम्मेलनमा बेलायत पुगेका नेपाली मूर्तिहरूबारे जानकारी गराइएको थियो । तिनमा उमामहेश्वरको १२ औं र १७ औं शताब्दीको मूर्ति तथा सूर्यको १४ औं शताब्दीको मूर्तिसहित १४ वटा सम्पदा छन् । यसमध्ये अन्वेषक वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा समेत समेटिएको पनौती, त्रिवेणीघाटको सूर्यको मूर्ति मात्रै घर फर्किएको सम्पदाविद् रवीन्द्र पुरीको जानकारीमा छ । त्रिवेणीघाटको सानो क्षेत्रमा रहेका ५ वटा पुरातात्त्विक महत्त्वका मूर्तिहरू सन् ८० कै दशकमा हराएका थिए, जसबारे अहिलेसम्म खोजपत्तो छैन ।
बेलायतमा रहेका भनिएका नेपाली मूर्ति–सम्पदाहरू फर्काइएको वा यसबारे कुनै प्रकारको पहल अघि बढेकोबारे पुरातत्त्व विभागलाई जानकारी नरहेको विभागका प्रवक्ता कुँवरले बताए । ‘बेलायतबाट यसरी ठूलो संख्यामा र पछिल्ला वर्षमा कुनै नेपाली मूर्ति/सम्पदा फिर्ता भएको रेकर्ड हामीसँग छैन,’ प्रवक्ता कुँवरले भने, ‘बेलायत वा अमेरिकामा रहेका नेपाली दूतावास अथवा अरू निकायले पनि हाम्रा पुरातात्त्विक सम्पदाको त्यहाँको अवस्थितिबारे केही जानकारी गराएका छैनन् ।’

 

मुख्य पृष्ठ

२०७२ वैशाख १२ पछि ५० हजारभन्दा बढी परकम्प

- अब्दुल्लाह मियाँ

(काठमाडौं) - सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार सबेरै ६ म्याग्निच्युडको भूकम्प गयो । ठूलै झड्काले सबै आत्तिए । ज्यान जोगाउन भागदौड गर्दै कतिपय सडकमा पनि पुगे । धन्न, मानवीय क्षति भएन । २०७२ वैशाख १२ को भूकम्पपछि बुधबारसम्म
५० हजारभन्दा बढी परकम्प गएका छन् । त्यसदिन ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयताका कतिपय कम्पनलाई सर्वसाधारणले नयाँ भूकम्पका रूपमा बुझ्दै आए पनि भूकम्पविद्हरूले ‘आफ्टरसक’ अर्थात् परकम्प नै भएको बताएका छन् ।
‘हो, बुधबारको कम्पन पनि गोरखा भूकम्पकै आफ्टरसक हो,’ युनिभर्सिटी अफ पेरिस (फ्रान्स) बाट ‘गोरखा भूकम्पपछिका परकम्प’ बारे विद्यावारिधि गरिरहेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले बुधबार कान्तिपुरसँग भने, ‘बारपाक केन्द्रबिन्दु बनेर भूकम्प जानुअघि जति ग्याप र जुन दरमा भूकम्प गइरहेका थिए, त्योभन्दा बढी दरमै भूकम्प गइरहेका छन् । यसले के संकेत गर्छ भने परकम्पहरू अझै आइरहन्छन्, पूर्ववत् अवस्थामा पुग्न समय लाग्छ ।’
केन्द्रले २०७२ वैशाख १२ पछि ४ म्याग्निच्युड र त्योभन्दा ठूला ५ सय ४८ वटा परकम्पबारे सर्वसाधारणलाई जानकारी गराएको छ ।
केन्द्रले २ म्याग्निच्युडभन्दा साना कम्पनको भने रेकर्ड राख्दैन । साना कम्पनहरू लाखौं गएका हुन सक्छन् । बुधबार बिहान ५ बजेर १९ मिनेट
जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गएको कम्पन भने २०७२ जेठपछिको सबैभन्दा ठूलो परकम्प हो । यसअघिका सबैजसो परकम्प
६ म्याग्निच्युडभन्दा साना थिए । २०७२ जेठमा
६ म्याग्निच्युडकै परकम्प गएको थियो, त्यसले वैशाख १२ को पहिलो धक्का बढी भएको क्षेत्रमा क्षतिसमेत निम्त्याएको थियो ।
भूकम्पविद् एवं खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटाले गोरखा भूकम्पको दरार (रप्चर) बढी भएको क्षेत्रमा परकम्पहरू आउने क्रम जारी रहेको बताए । ‘गोरखादेखि दोलखासम्मको भागमा यस्ता आफ्टरसक आइरहन्छन्,’ उनले भने, ‘यसको मतलब जोखिम बढ्यो भन्ने होइन, रप्चर क्षेत्रमा यस्तो क्रम चलिरहन्छ ।’
त्यसो त, भदौ २४ गते पनि रप्चर क्षेत्रमा पर्ने धादिङलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो पनि परकम्प हो । त्यसअघि भदौ १९ मा संखुवासभालाई केन्द्रबिन्दु बनाएर ४ र भदौ ९ गते बझाङलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडका भूकम्प गएका थिए, तीचाहिँ गोरखा भूकम्पको दरारभन्दा बाहिर थिए । भदौ २६ गते पनि नेपाल–भारत सीमाक्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
छोटो अवधिमा पटक–पटक भूकम्प गइरहेकाले सर्वसाधारणलाई भूकम्पीय जोखिम बढेको जस्तो लागे पनि विशेषज्ञहरू भने त्यसलाई सामान्य भनी व्याख्या गर्छन् । ‘नेपाल जहिल्यै भूकम्पीय जोखिममा छ,’ अधिकारी भन्छन्, ‘गोरखा भूकम्पअघि पनि भूकम्प आइरहेका थिए । अहिले आफ्टरसक आइरहेका छन् । भूकम्पीय जोखिम घट्यो र बढ्यो भनेर आकलन गर्न सकिन्न ।’
स्विट्जरल्यान्डको युनिभर्सिटी अफ लुजानबाट भूकम्प शास्त्रमा विद्यावारिधि गरिरहेका शिव सुवेदी भने गोरखा भूकम्पको दरार बारपाकभन्दा पूर्वी क्षेत्रतिर भएकाले क्षति पनि गोरखादेखि दोलखासम्मको भागमा बढी भएको बताउँछन् । ‘पश्चिमतिरको भागमा किन भूकम्पको दरार गएन भन्ने पत्ता लगाउन त्यही क्षेत्रको जमिनमुनिको अवस्था अध्ययन गर्नुपर्छ,’ उनको विश्लेषण छ, ‘सामान्यतः भूकम्प गइरहने स्थानको जमिनमुनिको अवस्था धेरै अध्ययन गरिन्छ । पूर्वी र मध्य नेपालमुनिको जमिनको अध्ययन पश्चिम नेपालको भन्दा तुलनात्मक रूपमा बढी भएको छ ।’
सुवेदीका अनुसार नेपालको परिवेशमा
सयौं वर्षको अन्तरालमा ठूलो भूकम्प जान्छ
भन्न सकिन्छ । भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै ११ औं स्थानमा छ ।
‘तर निश्चित अवधिमा, निश्चित समयमा, निश्चित स्थानमा, निश्चित म्याग्निच्युडको भूकम्प जान्छ भनेर पूर्वानुमान गर्न सम्भवै छैन,’ उनको भनाइ छ, ‘२०७२ पछि पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम बढी छ भन्नेमा विश्वका वैज्ञानिकहरू सहमत छन् ।’
केन्द्रका भूकम्पविद् अधिकारी पनि नेपालको पश्चिम भागमा भूकम्पीय जोखिम अन्यत्र भागमा भन्दा बढी भएको व्याख्या गर्छन् । ‘पश्चिम क्षेत्रमा विगत ५ सय वर्षभन्दा धेरै समयदेखि महाभूकम्प वा विनाशकारी भूकम्प गएको छैन,’ उनले थपे, ‘जमिनमुनिको प्लेटको गति र जमिनमुनिको अवस्थालगायत अन्य धेरै तथ्यको अध्ययन गरेर वैज्ञानिकहरू पश्चिम नेपालमा जुनसुकै बेला पनि विनाशकारी भूकम्प जान सक्छ भने निष्कर्षमा पुगेका छन् ।’
‘हिमालय टेक्टोनिक्स सेस्मोलजी (भूकम्प)’ मा विद्यावारिधि गरेका दीपक चम्लागाईंका अनुसार नेपाल ‘मेन हिमालयन थ्रस्ट’ अन्तर्गत पर्छ । यो थ्रस्टकै कारण नेपाल सधैं भूकम्पीय जोखिममा परेको उनको विश्लेषण छ । ‘इन्डियन प्लेट र तिब्बती प्लेटबीचको जब संघात (कोलिजन) हुन्छ, यो सञ्चित इनर्जीमा सिधै असर गर्छ र तलबाट प्लेट माथितिर ठेलिन्छ,’ उनको टिप्पणी छ, ‘प्लेट माथितिर ठेलिँदा इनर्जी थेग्न नसकेर रिलिज हुन्छ र भूकम्प आउँछ ।’
इन्जिनियरिङ सिस्मोलजीमै इटालीबाट पोस्ट डक्टरेट गरेका चम्लागार्इंका अनुसार अनुसन्धानले काठमाडौंसँगै वरिपरिको क्षेत्र झन् ठूलो भूकम्पीय जोखिममा रहेको देखाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाजको प्रतिवेदनमा सन् १२५५ को अभिलेखअनुसार हिन्दु–यारलुब रेखामा पर्ने यो क्षेत्रमा सालाखाला हरेक ७५ वर्षमा ८ म्याग्निच्युडको भूकम्प जाने गरेको उल्लेख छ । १९९० मा ८.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसरी भूकम्प जानुको कारण हो– नेपालको दक्षिण सिमानाको सतहमुनि भएर गुज्रने लामो धाँजामा हुने नियमित हलचल, जहाँ ४ देखि ५ करोड वर्षर्अघि भारतीय उपमहाद्वीपको चट्टान युरोसिया चट्टानसँग जुधेको थियो । ‘भूविज्ञानका लागि भारतीय र युरेसिया चट्टानबीचको संघात एक नमूना हो,’ हङकङ विश्वविद्यालयका भौतिकशास्त्री डा. लुब एस चाब भन्छन्, ‘भारतीय प्लेट भन्ने गरिएको प्लेट एसियाको उत्तरतिर बसेको २ सेन्टिमिटरका दरले अगाडि बढिरहेको छ । भौतिक विज्ञानका हिसाबमा यो ज्यादै द्रूत हो ।’ यी दुई प्लेटबीच घर्षण हुँदा पृथ्वीको माथिल्लो सतह चिरा–चिरा नपरुन्जेल तनाव र ऊर्जा पैदा भन्दै उनी भूकम्पलाई आणविक हतियारको विस्फोटनसँग तुलना गर्छन् ।
नेपाल यस्तो थेचारिएको भनिएको धाँजामा परेको छ, जहा एक टेक्टोनिक प्लेट अर्कोमाथि खप्टिन अघि सर्छ । यसको सर्वाधिक दृश्यमान परिणाम हिमशृंखला नै हो । यो धाँजा १४ सय माइलसम्म पसारिएको छ । अनि भारतीय प्लेट र युरेसियन प्लेटबीचको निरन्तर घर्षणले यी शृंखलाको उचाइ हरेक वर्ष एक सेन्टिमिटरले बढिरहेको छ । टेक्टोनिक प्लेटहरूको ऐतिहासिक अभिलेख र तीनको आधुनिक मापनले के देखाउँछ भने लगातार एकै खालको ऊर्जा संकलन भइरह्यो भने यो क्रम हरेक ४० र ५० वर्षमा महाभूकम्प जाने वैज्ञानिकहरू बताउँछन् ।
विज्ञहरूका अनुसार शक्तिले धाँजामा चाप पैदा गर्ने जटिलताको अर्थ हो वैज्ञानिकहरू कुनै क्षेत्रमा सयमा कति पटक सालाखाला भूकम्प जान्छ भन्ने अनुमान गर्नबाहेक अरु केही गर्न असमर्थ छन् ।

भूकम्पको पूर्वजानकारी कति सम्भव ?
धेरैले चासो राख्ने प्रश्न यही हो । ‘भूकम्पको पूर्वानुमान असम्भव छैन’, सुवेदी लेख्छन्, ‘सम्भाव्यतासम्बन्धी केही अध्ययन भएका छन्, जुन पर्याप्त छैनन् ।’ विकसित मुलुकहरूमा सयौंको संख्यामा उच्च क्वालिटीका सेस्मोमिटर जडान गरिएका हुन्छन्, जसले भूकम्पको केही समयमै रेकर्ड गरेको तरंग केन्द्रीय सर्भरमा पठाउँछन् । वैज्ञानिकहरूले त्यस्ता तरंगको अध्ययन गर्छन् र भूकम्प हो कि हैन, हो भने कहाँ कति म्याग्निचुडको हो जस्ता कुरा पत्ता लगाउँछन् । उनका भनाइमा भूकम्प हो भन्ने निश्चित भएपछि प्रभावित हुन सक्ने क्षेत्रमा सावधानी सन्देश पठाइन्छ । त्यसो हुँदा जनधनको क्षति कम हुन्छ । यसलाई भूकम्प पूर्वचेतावनी प्रणाली भनिन्छ ।
‘नेपालमा पनि पूर्वजानकारी असम्भव त छैन तर यसका लागि सेस्मोमिटरको पर्याप्त जडान, विषयविज्ञहरूको नियमित उपलब्धता, भूकम्पसम्बन्धी चेतनाको अभिवृद्धि, गुणस्तरीय सञ्चार प्रविधिलगायतले ठूलो अर्थ राख्छन्,’ उनको टिप्पणी छ, ‘जसका लागि नेपाल तयार भइसकेकै छैन ।’ जापान र अमेरिकाले यो प्रणालीको सफलतापूर्वक प्रयोग गरिरहेका छन् ।

 

Page 2
समाचार

कोरोनाबाट थप ८ को मृत्यु

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कोरोना संक्रमणबाट बुधबार आठ जनाको मृत्यु पुष्टि भएको छ । सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार बिहान मृत्यु भएको छ । मिर्गौला र उच्च रक्तचापको समस्या भएका उनी एक वर्षदेखि डायलसिस गराउँदै आएका थिए । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।
मोरङको बेलबारी–९ बाहुनीकी ६४ वर्षीया महिलाको विराटनगरस्थित नोबेल अस्पतालमा मंगलबार राति मृत्यु भएको छ । पित्तथैलीको शल्यक्रियाका लागि आएकी उनमा मंगलबार नै कोरोना पुष्टि भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । काभ्रेको पनौती नगरपालिका–३ का ४१ वर्षीय पुरुषको पनि काठमाडौं मेडिकल कलेजमा मंगलबार राति मृत्यु भएको छ । उनमा प्याङ्क्रियाजको समस्यासमेत रहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताए । काभ्रेकै ५५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । कैलालीको धनगढी–५ की ५७ वर्षीया महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको छ । भदौ २४ देखि प्लाज्मा थेरापीबाट उपचार लिइरहेकी उनको बुधबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।
यस्तै, बाराकी ४६ वर्षीया महिला, काठमाडौंका ७१ र ७४ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एक दिनमा हालसम्मकै धेरै संक्रमित
काठमाडौं उपत्यकामा कार्यालय, यातायात तथा व्यवसाय सञ्चालन भएपछि बुधबार हालसम्मकै धेरै संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ५ सय ३९ संक्रमित थपिएका हुन् । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बुधबार अबेरसम्म काठमाडौं उपत्यकामा हालसम्मकै धेरै ७ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयको बुधबार अपराह्न सवा ४ बजेको नियमित कोभिड प्रेस ब्रिफिङमा भने उपत्यकामा ७ सय ३७ जना संक्रमित पाइएको जनाइएको थियो । उपत्यकामा पछिल्लो एक सातामा मात्रै संक्रमित हुनेको संख्या ४ हजार ५ सय १६ पुगेको छ । जसमध्ये अधिकांश संक्रमित २१–४० वर्ष उमेर समूहका छन् । उपत्यकामा भदौ ३० मा ७४४, भदौ २९ मा ५५५, भदौ २८ मा ६२७, भदौ २७ मा ४५३, भदौ २६ मा ७३० र भदौ २५ मा ६३५ जनामा संक्रमण पुष्टि भएको थियो ।
उपत्यकाका सबै ठाउँमा देखिए पनि भक्तपुरको ठिमी, गठ्ठाघर, लोकन्थली, दधिकोट, बोडे, बालकोटमा संक्रमितको संख्या उच्च देखिएको छ । काठमाडौंमा सीतापाइला, पुतलीसडक, नयाँ बजार, बत्तीसपुतली, नक्साल, कालीमाटी, महाराजगन्ज, न्युरोड, ताहाचल, असन, क्षेत्रपाटी, चाबहिल, स्वयम्भू, वानेश्वर, मैतीदेवी, नैकापलगायत ठाउँ बढी प्रभावित छन् । ललितपुरमा इमाडोल, लगनखेल, सुनाकोठी, नवबहाल, धापाखेल, जावलाखेल, धोबीघाट, कुपन्डोल, सानेपा, टीकाथलीमा धेरै संक्रमित भेटिएका छन् ।
संक्रमितमध्ये सुरक्षा निकायका व्यक्तिको संख्या मंगलबार एक सयभन्दा बढी रहेकोमा बुधबार यो संख्या ६५ भन्दामाथि छ । कोइरालाका अनुसार बैंक कर्मचारी, स्वास्थ्यकर्मी, कैदीबन्दीमा समेत उल्लेख्य रूपमा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार बुधबारसम्म काठमाडौंमा ११ हजार २ सय ३५, भक्तपुरमा १ हजार १ सय ४३ र ललितपुरमा १ हजार २ सय ८५ गरी उपत्यकामा १३ हजार ६ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार १० हजार ४ सय ९४ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा आईसीयूमा १ सय ४ जना र भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ । उपत्यकाबाहेक अन्य स्थानमा ७१ जना संक्रमित सघन उपचारमा छन् ।

कोइरालाको अवस्था सुधारोन्मुख
ज्वरो बढेपछि अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य स्थिति सुधारोन्मुख छ । कोरोना संक्रमण पुष्टि भएपछि महाराजगन्जस्थित घरमै आइसोलेसनमा रहेका उनलाई निमोनियाको आशंकामा मंगलबार राति चाबहिलको ओम अस्पताल भर्ना गरिएको थियो । ‘अहिले रुघाखोकी र ज्वरो देखिएको छैन, डाक्टरले निमोनियाको अब्जर्भेसन गरिरहनुभएको छ,’ उनका स्वकीय सचिव भरत तिवारीले भने ।

समाचार

'भात खान नपाएपछि’ गर्भवतीद्वारा आत्महत्या

- कमल पन्थी

(बर्दिया) - पेटमा ५ महिनाको गर्भ थियो । स्वाद फेरेर भात खान मन लागेको बताउने गरेकी थिइन् । सधैं रोटीले छाक टार्ने गरेकी उनले भदौ १६ को साँझपख भात खाने इच्छा व्यक्त गरिन् । तर, भात पकाउने विषयमा सासू–बुहारीबीच एकमत बनेन । अन्ततः दुवैबीच मनमुटाव गहिरिँदै गएपछि गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको माइती पक्षको दाबी छ ।
गोडिया परिवार खेतीपाती र मजदुरीमा निर्भर छ । दैनिक काम गरेर छाक जुटाउने गरेका थिए । लकडाउनले लामो समय काम नपाएपछि घरमा पर्याप्त चामल थिएन । भदौ १६ को साँझपख नीलमले सासू लक्ष्मीसित भात पकाउने अनुमति मागिन् । तर चामल कम रहेको र परिवारका अन्य सदस्यले पनि रोटी खाने भनेपछि भात पकाउन अनुमति मिलेन । निलमका श्रीमान् ओमकारका अनुसार घरमा करिब १५ किलो चामल थियो । कहिलेकाहीं मात्रै भात खाने भन्दै उनीहरू दिनहुँ रोटीले गुजारा गरिरहेका थिए । आमाले बुहारीका लागि मात्र भात किन पकाउने भनेपछि त्यस दिन घरमा भात नपाकेको उनले बताए । ‘थोरै चामल लगेर पकाउँछु भनेकी थिइन्,’ उनले भने, ‘आमासँग अनुमति लिएकी हुन् ।’
त्यसपछि भात खानकै लागि नीलमले सापटीका रूपमा एक किलोजति चामल माइतीमा लगिन् । घरबाट ५० मिटरको दूरीमा छ उनको माइती घर । एक किलोभन्दा धेरै चामल लगेको भन्दै सासू र बुहारीबीच फेरि भनाभन भयो । त्यसपछि नीलमले लगत्तै आफ्ना बाबु रमेशसँग चामल मागेर सासूलाई फिर्ता गरिदिइन् । लक्ष्मीले भने बुहारीले चामल माइत लैजाने बेला आफू घरमा नरहेको र बुहारीसँग झगडा नभएको दाबी गरिन् । ‘बुहारीले के कारणले आत्महत्या गरिन्, बुझ्न सकिनँ,’ उनले भनिन् । रोटी खाने भनिए पनि त्यस दिन नीलमले आँगनमा मकै भुटेर सबैलाई बाँडिन् र घरभित्र पसिन् । धेरै बेरसम्म उनी बाहिर नआएपछि कोठाभित्र गएर हेर्दा झुन्डिएको अवस्थामा देखेको ओमकारले बताए । नीलमले आत्महत्या गर्दा कोठाका झ्यालढोका खुलै थिए । झ्यालढोका नलगाएकाले पनि आत्महत्या गरेको मेसो नपाएको परिवारको भनाइ छ ।
गोडिया परिवारको सम्पत्तिका नाममा दुई कठ्ठा जमिन र एउटा घर छ । उनीहरू अरूको खेत अधियाँ गरेर जीविका चलाउँदै आएका छन् । कोरोना संक्रमणका कारण मजदुरीसमेत नपाउँदा घरखर्च टार्न निकै समस्या थियो । ‘श्रीमतीलाई गर्भवती अवस्थामा भात खाने इच्छासमेत पूरा गर्न नसक्दा यस्तो विपत्ति आयो,’ ओमकारले भने, ‘कोरोनाले गर्दा यो सबै भएको हो ।’
नीलमका माइती पनि मजदुरीमा निर्भर छन् । ६ दिदीबहिनीमध्ये नीलम काइँली हुन् । नीलमको माइतीमा पनि भात नपाकेको एक महिना भयो । त्यही कारण छोरीले भात खाने मनसायले आफ्नो घरबाट एक किलो चामल लिएर माइत आएकी नीलमका बाबु रमेशले बताए । परिवारको नमिठो कुरा सुनेरै छोरीले आत्महत्या गरेको उनको दाबी छ । स्थानीयसमेत रहेकी नगर कार्यपालिका सदस्य विष्णुकुमारी शर्माले पनि खानाका विषयमा झगडा भएकाले नीलमले आत्महत्या गरेको हुन सक्ने बताइन् । ‘गाउँका अधिकांश गरिब छन्,’ उनले भनिन्, ‘उनीहरूको आम्दानीको स्रोत मजदुरी हो ।’
वडाध्यक्ष राजकुमार यादवले भने भातकै विषयमा भनाभन भएपछि नीलमले आत्महत्या गरेकोबारे आफूलाई जानकारी नभएको बताए । ‘समस्या रहेको थाहा पाएको भए चामल, दाल दिएर पठाउँथें,’ उनले भने, ‘मेरो वडामा कसैलाई पनि भोकै मर्न दिन्नँ ।’ बर्दिया प्रहरीको मुद्दा फाँट प्रमुख प्रहरी निरीक्षक सुशील थापा मगरले भने घटना खानाकै वा अन्य कारणले भएकोबारे अनुसन्धान भइरहेको बताए । पोस्टमार्टम रिपोर्टबाट भने आत्महत्या गरेको पुष्टि भएको उनको भनाइ छ । ‘परिवार वा माइती पक्षबाट हालसम्म कुनै जाहेरी आएको छैन,’ उनले भने, ‘त्यसकारण पनि कसैको बयान लिन सकिएको छैन ।’ ५ वर्षअघि विवाह गरेका ओमकार र नीलमका दुई वर्षकी छोरी छन् ।

समाचार

पञ्चहरूको निर्णयले जघन्य अपराध

- अवधेशकुमार झा

(राजविराज) - समाजमा अन्याय भए ‘पञ्चलाई बसाउनू’ भन्ने मान्यता ग्रामीण समाजमा अझै कायम छ । तर, पञ्चहरूकै निर्णयले १७ वर्षीया किशोरी आत्महत्या गर्न बाध्य भएकी छन् । सामूहिक बलात्कृत भए पनि पञ्चायतीबाट न्याय नपाउँदा सप्तरीको डाकनेश्वरी–७ की १७ वर्षीया संगीता मण्डलले सोमबार राति आत्महत्या गरेकी हुन् ।
राति पानी परेकाले खेतमा जमेको पानी कटाउन सोमबार बिहानै संगीता खेततर्फ गएकी थिइन् । पुग्नासाथ गाउँकै चार जनाले घेरा हाले । खेतमा लछारपछार पारे । आलीमा राखेर उनको कपडा फुकाल्न थालेपछि उनी रोइकराई गर्न थालिन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी तिलक भारतीका अनुसार चारै जनाले मुख थुनेर उनलाई सामूहिक बलात्कार गरे । छोरी फर्केर खाना पकाउलिन् भनेर आमा घरको अन्य काममा लागेकी थिइन् । तर संगीता च्यातिएको कपडा र अर्धचेत अवस्थामा फर्किइन् । घटनाबारे बताउँदा बताउँदै उनी बेहोस भएकी थिइन् ।
आमाले छरछिमेक गुहारिन् । तत्कालै साथ दिने कोही भएन । बलात्कारीहरू गाउँ आए र दबाब दिन सुरु गरे । पीडित किशोरीकी आमा दोषीलाई कारबाही गराउन साथ दिन भन्दै टोलदैलो चहार्न थालिन् । दिउँसो ८–१० जना कथित पञ्चहरू भेला भए । उनीहरूमध्ये कसैले पनि संगीताका पक्षमा बोलेनन् । सुरुमा बिनाआधार बलात्कारको आरोप लगाएको भन्दै उल्टै झपारे । ‘घटनाबारे प्रहरीमा उजुरी दिए टोलबस्तीबाटै नाकाबन्दी गरिदिने भन्दै पञ्चहरूले धम्क्याए,’ एक स्थानीयले भने ।
पञ्चहरूले वडाध्यक्षलगायत कुनै जनप्रतिनिधिसम्म घटनाको सुइँको पनि पुग्न दिएनन् । बलात्कारको कुरा बाहिर गए टोलसमाजको बेइज्जती हुने र संगीताको बिहे कतै नहुने भन्दै गाउँमै मिल्न दबाब दिए । ‘५०–५५ हजार रुपैयाँ लिएर मिल्न दबाब दिएको कुरा सुनें,’ वडाध्यक्ष रामनारायण चौधरीले भने, ‘तर संगीता र उनकी आमाले त्यसमा सहमति जनाएनछन् । सामान्य परिवारलाई पञ्चहरूले बन्दी बनाएर समाजमा उदण्डता र अश्लीलता फैलाउने किसिमको काम गरे ।’ प्रहरीमा उजुरी गरे वा टोलबाहिर घटनाबारे जानकारी दिए जे पनि गरिदिने धम्की दिइएपछि पीडित परिवार घरभित्र थुनिन बाध्य भएको थियो । बलात्कृत भएपछि पटकपटक बेहोस बनेकी संगीताको उपचारमा न कसैले चासो दियो, न त न्याय पाउने आस नै रह्यो । राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन् ।
संगीताको आत्महत्यापछि बल्ल जनप्रतिनिधि र प्रहरीमा घटनाबारे खबर पुग्यो । पञ्चायतीमा सहभागीमध्ये जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कारमा संलग्न धर्म मण्डल, विष्णु मण्डल, रञ्जित मण्डल र बबलु मण्डल फरार छन् । संगीताको शव पोस्टमार्टमका लागि धरान लगिएको छ भने पक्राउ परेकामाथि आत्महत्या दुरुत्साहन र प्रमाण नष्टसम्बन्धी मुद्दा चलाइने डीएसपी भारतीले जानकारी दिए ।

समाचार

पत्नी र छोराको हत्यापछि आत्महत्या

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– मध्यपुर थिमि नगरपालिका–९ निकोसेरामा एउटै परिवारका तीन जनाको शव भेटिएको घटनामा पत्नी र छोराको हत्यापछि ३६ वर्षीय सुदीप अधिकारीले आत्महत्या गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानलाई पोस्टमार्टमको रिपोर्टले थप पुष्टि गरेको हो ।
अधिकारीसहित उनकी पत्नी ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको भदौ २६ गते साँझ घरभित्रै शव फेला परेको थियो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी ऋषिराम कँडेलका अनुसार काठमाडौं मेडिकल कलेज चाँगुनारायण दुवाकोटमा गरिएको पोस्टमार्टम रिपोर्टले आमा–छोराको धारिलो हतियार प्रहारबाट मृत्यु भएको निष्कर्ष निकालेको हो । सम्झनाको टाउकोमा तीनपटक धारिलो हतियार प्रहार भएको र दुवैको हत्यापछि आत्महत्या गरेको रिपोर्टमा उल्लेख भएको डीएसपी कँडेलले बताए । छोराको भने घाँटी रेटिएको र टाउकोमा चारपल्ट धारिलो हतियार प्रहार भएको उल्लेख छ । प्रहरीले घटनास्थलबाट सोही दिन दाउ बरामद गरेको थियो । दुवैको हत्या गरी सुदीपले विष सेवन गरेको प्रहरीको भनाइ छ । प्रहरीले शनिबार घरनजिकैको धानबारीमा ‘सल्फस’ नामक विषको २ वटा बट्टा फेला पारेको थियो ।
दुवैको हत्यापछि २४ देखि ४८ घण्टाको बीचमा सुदीपले आत्महत्या गरेको हुन सक्ने रिपोर्टले देखाएको छ । भदौ २३ गते बेलुका आमा–छोराको हत्या गरेको र पर्सिपल्ट बिहान दुवै जनाको मोबाइल ‘स्विच अफ’ गरेर विष सेवन गरी उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । २६ गते साँझ करिब ५ बजे सुदीपका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो र फरेन्सिक विज्ञको टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा सुदीपको शव घरको माथिल्लो तलाको कौसीको ढोकामा घोप्टिएको, सम्झनाको शव दोस्रो तलाको ओछ्यानमा र सुशान्तको शव पहिलो तलाको ओछ्यानमा घोप्टिएको अवस्थामा फेला परेको थियो । आमा–छोराको शव कुहिएर कीरा परेको अवस्थामा भेटिएको थियो । पहिलो तलामा कुकुर पनि मृत अवस्थामा फेला परेको थियो । कुकुरले समेत विष सेवन गरेको रिपोर्टमा उल्लेख छ ।
प्रहरीलाई सुदीपका आफन्तले बताएअनुसार केही महिनाअघिसम्म एक औषधि कम्पनीमा काम गर्ने उनी घरकै भुइँतलाको सटरमा किराना पसल चलाउँथे । ससुरालीबाट २ लाख रुपैयाँ ऋण लिएको र घर बैंकमा धितो राख्ने प्रक्रियामा रहेको पाइएको प्रहरीले जनाएको छ । छिमेकी र आफन्तका अनुसार उनमा डिप्रेसनको समस्या थियो जसका कारण घरमा झगडा भइराख्थ्यो ।

समाचार

आफन्तद्वारा दिनहुँ प्रदर्शन

- कान्तिपुर संवाददाता

धनगढी (कास)– प्रहरी हिरासतभित्र मृत्युको घटनालाई लिएर मृतकका परिवार र आफन्तले बुधबार पनि धनगढीमा प्रदर्शन गरेका छन् । उनीहरूले मुख्यमन्त्री कार्यालय र जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कोठाभित्र आत्महत्या गरेको भनिएका धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकको मृत्यु कुटपिटबाट भएको परिवारको दाबी छ । छानबिनबाट सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गर्दै उनीहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । विकलाई मोबाइल चोरीको अभियोगमा प्रहरीले भदौ २२ पक्राउ गरी हिरासतमा राखेको थियो । पाँचौं दिन बिहान उनले आत्महत्या गरेको खबर प्रहरीले सार्वजनिक गरेको थियो ।
भाइको अनुहारभरि घाउचोट रहेको, नाकबाट रगत बगेको र घाँटीमा चोट रहेको मृतकका दाजु रवि विकले बताए । ‘प्रहरीकै कुटपिटबाट मृत्यु भएको हो,’ उनले भने । घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गरिरहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । ‘पाँच दिनको म्याद दिएका हौं,’ उनले भने, ‘बिहीबार छानबिनको प्रगतिबारे जानकारी माग्छौं ।’

समाचार

आँखा परीक्षण गर्न साइपालमा स्वास्थ्यकर्मी

- वसन्तप्रताप सिंह

(बझाङ) - बझाङको दुर्गम क्षेत्र साइपाल गाउँपालिकाका स्थानीयको आँखासम्बन्धी समस्याको जाँचबुझ गर्न स्वास्थ्यकर्मीको टोली साइपाल पुगेको छ । गेटा आँखा अस्पताल र जिल्ला अस्पताल बझाङबाट गरी पाँच जना स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको हो । साइपालका ३ सयभन्दा बढी स्थानीय आँखासम्बन्धी समस्याबाट ग्रस्त भए पनि यसअघि सोबारे जाँचबुझ गर्न स्वास्थ्यकर्मीको टोली पुगेको थिएन ।
टोलीले पहिलो दिन साइपाल–१ र २ स्थित धलौन गाउँका १ सय ३५ जनाको बुधबार आँखा परीक्षण गरेको छ । जसमध्ये ६१ जनामा समस्या देखिएको छ । १२ जनामा मोतीबिन्दुलगायत शल्यक्रिया गर्नुपर्ने र ४९ जनामा उपचारपछि नियमित चस्मा लगाउँदा दृष्टि फर्किने देखिएको स्वास्थ्यकर्मी टोलीका एक सदस्य जनककुमार विष्टले बताए । उनका अनुसार टोलीले अन्य वडावासीको पनि आँखाको प्रारम्भिक परीक्षण गर्नेछ । यो काम असोज ७ सम्म जारी रहनेछ । सबै वडामा प्रारम्भिक आँखा जाँच गरिसकेपछि कति मानिसमा कुन खालको समस्या छ भनेर वास्तविकता पत्ता लाग्ने उनले बताए ।
‘साइपालको अँध्यारो संसार’ शीर्षकमा भदौ २४ मा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि यहाँको समस्याबारे चौतर्फी चासो बढेको थियो । समाचार प्रकाशित भएलगत्तै यहाँ आँखासम्बन्धी शिविर सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र गेटा आँखा अस्पतालका प्रतिनिधिसँग छलफल गरेका थिए । प्रतिनिधिसभा सदस्य आशाकुमारी विक, पूर्वसांसद अफिलाल ओखेडालगायतले पनि शिविर सञ्चालन र व्यवस्थापनका लागि विभिन्न पक्षसँग समन्वय गरिरहेका छन् । यस्तै, संयुक्त राष्ट्रसंघका पूर्वअधिकारी सुवास सिंह, नेत्र चिकित्सक विक्रम थापालगायतले पनि साइपालमा आँखा शिविर सञ्चालनका लागि सहयोग गरिदिन तिलगंगा आँखा प्रतिष्ठानका निर्देशकसमेत रहेका वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा. सन्दुक रुइत र विभिन्न दाताहरूसँग पहल गरेका थिए ।
डा. रुइतको टोली आउने
साइपालमा आँखासम्बन्धी शिविर सञ्चालनका लागि डा. रुइतको टोली आउने भएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार आँखाको शल्यक्रियासम्बन्धी उपकरण, औषधि र चस्माका लागि लाग्ने खर्चसमेत डा. रुइतको टोलीले नै व्यहोर्ने भएको छ । ‘आँखा शिविरसम्बन्धी सबै खर्च व्यहोर्ने गरी डा. रुइतले नै शिविर चलाउनुहुनेछ,’ उनले भने, ‘असोज महिनाभित्रै आँखा शिविर सञ्चालन गर्ने गरी हामी तयारी गरिरहेका छौं ।’
उनले साइपाल गएको स्वास्थ्यकर्मीको टोलीले स्थानीयको आँखाको प्रारम्भिक परीक्षण गरेर उपचार गर्नुपर्ने बिरामीको संख्या यकिन गरेपछि डा. रुइतलाई यसमा लाग्ने खर्च र शिविर व्यवस्थापनका लागि औपचारिक अनुरोध गरिने बताए ।
आँखा शिविर व्यवस्थापनका लागि डा. रुइतको टोलीले जिम्मा लिए पनि चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री र उपकरण ओसार्नका लागि हेलिकप्टरको व्यवस्थापन भने सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ । जिल्ला सदरमुकामबाट झन्डै ४ दिनको पैदल दूरीमा रहेको उक्त गाउँमा हिँडेर जान र शल्यक्रियासम्बन्धी उपकरण बोकेर लैजान समस्या हुने भएकाले हेलिकप्टरको प्रयोग गरिने सुदूरपश्चिम प्रदेशका सभामुख थापाले बताए । हेलिकप्टरको सम्पूर्ण खर्च प्रदेशको सामाजिक विकास मन्त्रालयले व्यहोर्ने गरी छलफल भइरहेको उनले जनाए ।
आँखा शिविरसँगै साइपालमा विशेषज्ञ सेवासहितको एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी तयारी गर्न जिल्ला अस्पताल बझाङलाई जिम्मा दिइएको सभामुख थापाले बताए ।
न्यूनतम स्वास्थ्य सुविधा पनि नभएको साइपालमा बढीभन्दा बढी स्थानीयले सुविधा पाउने गरी फिजिसियन, बाल रोग र स्त्री तथा प्रसूति रोग विशेषज्ञसहितको टोलीले शिविर सञ्चालन गर्ने जिल्ला अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले जानकारी दिए । उनले शिविरमा भिडियो एक्सरे, मोबाइल प्रयोगशालासहित आधुनिक उपकरण लैजाने तयारी भइरहेको बताए ।
उनका अनुसार शिविरमा पाठेघर खसेका महिलाको रिङ राख्ने, क्षयरोग, कुष्ठरोग, दन्तरोग, पुरुष बन्ध्याकरण, नाक, कान, घाँटी, मुटु, फोक्सोसम्बन्धी सेवा उपलब्ध गराइने र सामान्य खालको शल्यक्रियासमेत गरिनेछ । ‘उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जान नसक्ने भएकाले हामीले महिला र बालबालिकाका लागि विशेषज्ञ सेवा उपलब्ध गराउनेछौं,’ उनले भने, ‘त्यो बाहेक जिल्ला अस्पतालबाट दिइने सबै सेवा साइपालमै उपलब्ध गराउने गरी तयारी थालेका छौं ।’ उनले बाल रोग र स्त्री तथा प्रसूति रोग विशेषज्ञ धनगढीबाट आउने र शिविरका लागि चाहिने औषधि खरिदका लागि प्रदेश सरकारलाई अनुरोध गरिने बताए ।

Page 3
समाचार

साता नपुग्दै पार्टी निर्णय उल्लंघन

- बिनु सुवेदी

(काठमाडौं) - नेताहरूका नाममा खुलेका प्रतिष्ठानका कारण गुटबन्दी बढेको भन्दै गतिविधि गर्न नदिने गरी स्थायी कमिटी बैठकले निर्णय गरेको सात दिन र अन्तरपार्टी निर्देशन जारी भएको तीन दिन नबित्दै निर्णयको उल्लंघन हुने भएको छ ।
प्रतिष्ठानलाई समानान्तर पार्टीको हैसियतमा देशव्यापी विस्तार गर्दा नेता–कार्यकर्ता गुटप्रति बढी इमानदार भएको भन्दै नेकपाले सर्कुलर जारी गरेको भए पनि मदन भण्डारी फाउन्डेसनले बिहीबारदेखि नै देशव्यापी कार्यक्रम गर्दै छ । संविधान र मदन भण्डारीलाई जोडेर देशैभरि गर्न लागिएको कार्यक्रमको बिहीबार तालिका सार्वजनिक गर्ने र शुक्रबारदेखि फाउन्डेसनको केन्द्रीय कार्यालयदेखि स्थानीय तहसम्मका कमिटीले आ–आफ्ना किसिमले कार्यक्रम आयोजना गर्ने फाउन्डेसनका केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । बरालका अनुसार असोज ३ गते फाउन्डेसनले केन्द्रीय कार्यालयमा विचार गोष्ठी राखेको छ ।
उक्त गोष्ठीमा १५ जनाजति प्रत्यक्ष रूपमा भेला हुने र अरूलाई देशव्यापी रूपमा सञ्चारका विभिन्न माध्यमहरूमार्फत जोड्ने तयारी भइरहेको फाउन्डेसनका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले बताए । ‘संविधान दिवसको अवसर पारेर १५ गतेसम्म रक्तदान, सरसफाइ, विचार गोष्ठीलगायत कार्यक्रम देशव्यापी हुँदै छ, काठमाडौं जिल्लाका ११ वटै पालिकाले पनि गर्दै छन्,’ निरौलाले कान्तिपुरसँग भने, ‘नेपालको संविधान र मौलिक अधिकार शीर्षकमा विचार गोष्ठी हुनेछ ।’ उक्त कार्यक्रममा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बोलाएको भए
पनि आउने/नआउने निश्चित भइनसकेको
उनले बताए ।
यस्तै फाउन्डेसनले नेपालको संविधान र जननेता मदन भण्डारी शीर्षकमा देशव्यापी निबन्ध प्रतियोगिता गर्ने तयारी गरेको छ । निरौलाका अनुसार निबन्धहरू १५ गतेसम्ममा इमेलमार्फत मगाइने र उत्कृष्ट तीन वटालाई पुरस्कार दिनुका साथै १० वटा निबन्ध पुस्तकका रूपमा निकालिनेछ । उनले फाउन्डेसनले कतै विभिन्न सहकारी र क्लब, कतै पार्टीसँग मिलेर र कतिपय ठाउँमा एक्लै कार्यक्रम गर्न लागेको बताए । उनले पार्टीको स्थायी कमिटी बैठक र अन्तरपार्टी निर्देशनले समेत मदन भण्डारी फाउन्डेसनलाई कार्यक्रम गर्न रोक नलगाएको बताएका छन् । ‘हामीले रचनात्मक कार्यक्रम र विचार गोष्ठीहरू गर्छौं,’ उनले कान्तिपुरसँग भने, ‘पुष्पलालका नाममा साथीहरूले तलतल गएर कार्यक्रम गर्ने र पार्टीमा दरार आउने काम गरेकाले मात्रै यस्तो कुरा आएको हो ।’
झन्डै साढे दुई महिनापछिको गुटगत रस्साकसीपछि गत भदौ २६ गते सम्पन्न नेकपा स्थायी कमिटी बैठकले विभिन्न नेताहरूका नाममा सञ्चालित प्रतिष्ठान र संघसंस्थाहरू गुटबन्दीको माध्यम बन्दै गएको भन्दै प्रतिष्ठानहरूलाई शाखा गठन तथा कुनै पनि गतिविधि गर्न नदिने निर्णय गरेको थियो । ‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरू परिचालित छन्, यीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन्, गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्न जरुरी छ,’ स्थायी कमिटीले पारित गरेको प्रस्तावमा उल्लेख छ, ‘सचिवालयले प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने र कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता–कार्यकर्ता सम्मिलित कुनै पनि प्रष्ठिानहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने ।’ यही प्रस्तावलाई अध्यक्षद्वयले अन्तरपार्टी निर्देशनमार्फत सर्कुलर गरिसकेका छन् ।
फाउन्डेसनले भने प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘असोज ३ गते पर्ने संविधान दिवस र मदन भण्डारीका सन्दर्भमा फाउन्डेसनले पहिल्यै कार्यक्रम तय गरेको थियो,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर अन्तरपार्टी निर्देशनमा प्रतिष्ठानहरूले कुनै कार्यक्रम नगर्ने सर्कुलर जारी भएपछि के गर्ने भनेर साथीहरूले प्रधानमन्त्रीज्यूलाई सोध्नुभएको थियो, उहाँले गर्दा हुन्छ भनेपछि कार्यक्रम हुने निश्चित भएको हो ।’
सबैभन्दा धेरै गुटगत गतिविधि गरेको आक्षेप मदन भण्डारी फाउन्डेसनलाई नै लाग्दै आएको छ । गत माघ अन्तिम साता ओली पक्षधर नेताहरूले फाउन्डेसनमै भेला गरेर गुटको राजनीति गरेपछि पार्टी झन् संकटमा परेको आरोप अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै लगाएका थिए । गत साउन २१ गते पत्रकारहरूसँगको संवादमा दाहालले फाउन्डेसनमा गुटको भेला गरेर ओलीले ‘पोलिसी सिफ्ट’ गर्न खोजेको बताएका थिए । यद्यपि आन्तरिक सर्कुलरमा स्थायी कमिटीको पाँचौं बैठक सकिएको मिति भदौ २६ लाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) का रूपमा निर्धारण गर्ने उल्लेख छ । तर प्रधानमन्त्री ओलीकै संरक्षकत्वमा रहेको फाउन्डेसनले पार्टी निर्णयविपरीत कार्यक्रमको आयोजना गरेको हो ।
फाउन्डेसनका केन्द्रीय सदस्य बरालले भने जननेता मदन भण्डारीको विचारलाई प्रचारप्रसार गर्न आफूहरूलाई कसैले रोक्न नसक्ने बताए । ‘तपाईंले दिनदिनै खाना खान पाउनु हुन्न भनेर हुन्छ ?’ बरालले कान्तिपुरसँग भने, ‘मदन भण्डारी फाउन्डेसनले मदनका विचारहरू पक्षपोषण गर्न पाउँछ कि पाउँदैन ।
मुहान सुकाएर प्यास मेट्न नदिने कुरा हामीले मान्दैनौं । जनताको बहुदलीय जनवादले विचार प्रवाहलाई रोक्दैन । बहुलताले सबै विचारलाई फुल्न र फल्न दिनुपर्छ । यो चीजलाई रोकेर रोकिन्न ।’ त्यसैले संविधान र मदन भण्डारीको अन्तरसम्बन्धबारे देशव्यापी कार्यक्रम गर्न लागिएको उनले बताए ।
नेकपा नेताहरूले मदन भण्डारी फाउन्डेसन, पुष्पलाल प्रतिष्ठान, तुल्सीलाल फाउन्डेसन, मनमोहन अधिकारी स्मृति प्रतिष्ठान, भरतमोहन अधिकारी प्रतिष्ठानलगायत संस्था सञ्चालन गरिरहेका छन् । यस्तै पासाङ ल्हामु शेर्पा, रवीन्द्र अधिकारी, प्रकाश दाहाल, सहाना प्रधान, नेत्रलाल अभागीलगायतका नाममा पनि प्रतिष्ठान सञ्चालन भइरहेको छ । मदन भण्डारी, पुष्पलाल, तुल्सीलाल, पासाङ ल्हामु, झलनाथ खनाललगायत प्रतिष्ठानलाई सरकारले वार्षिक निश्चित रकम अनुदानसमेत दिँदै आएको थियो । यसपालि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फाउन्डेसनहरूका नाममा बजेट
छुट्याएको छैन ।
पासाङ ल्हामु प्रतिष्ठानका नाममा रहेको घरमा नेकपाको पार्टी कार्यालय बसेको छ । यसअघि पनि बारम्बार फाउन्डेसनका नाममा गुटबन्दी मौलाएको भन्दै यस्ता संस्थाहरू बन्द गर्नुपर्ने माग नेकपामा बारम्बार उठ्दै आएको थियो । नेताहरूले पनि यसलाई गम्भीर रूपमा लिएको बताउँदै आएका थिए तर गुटबन्दी झन्–झन् मौलाउँदै आएको थियो । यसपालि पनि फाउन्डेसनका गतिविधिसमेत रोक्ने निर्णय भइरहेका बेला मदन भण्डारी फाउन्डेसनले देशव्यापी कार्यक्रम गर्ने तयारी गरेको हो । नेकपाले शुक्रबार बोलाएको सचिवालय बैठकमा पार्टी निर्णय उल्लंघन भएका विषयमा पनि छलफल चल्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘हामी स्थायी कमिटीको
निष्कर्ष निर्णयको कार्यान्वयन प्रक्रियालाई अघि बढाउनका लागि सचिवालय बैठक बस्दै छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘निर्णय पहिले नै उल्लंघन भएको केही घटनाक्रम छन् भने त्यसबारेमा पनि छलफल हुन्छ ।’

समाचार

सचिवालय बैठक पेरिसडाँडामा

- कान्तिपुर संवाददाता

नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी हैसियत प्राप्त भएपछिको पहिलो सचिवालय बैठक नेकपा जनवर्गीय संगठनहरूको कार्यालय रहेको पेरिसडाँडामा बोलाइएको छ ।
शुक्रबार पेरिसडाँडामा बस्ने सचिवालय बैठक पार्टी एकीकरणपछिको पहिलो बैठक हो । यसअघि गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा केही समूहगत छलफलपूर्व माओवादीको केन्द्रीय कार्यालयसमेत रहेको पेरिसडाँडामा भएको थियो ।
नत्र नेकपाका अक्सर बैठक प्रधानमन्त्री निवास बालुवाटार र केही बैठक पार्टी कार्यालय धुम्बाराहीमा हुँदै आएका थिए । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्ति, पार्टीको सांगठनिक एकताका बाँकी काम सक्नेलगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबार प्रधानमन्त्री निवासमा अध्यक्षद्वयका बीचमा भएको छलफलले पार्टी सचिवालय बैठक बोलाउने निर्णय गरेको हो । नेकपाको गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टी एकताको काम असोजभित्र सक्ने निर्णय गरेको थियो ।
यस्तै संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा पार्टी सचिवालयका नेताहरूसँग परामर्श गरेर अध्यक्षहरूले निर्णय गर्नुपर्ने प्रस्ताव नेकपाले पारित गरेको छ । अध्यक्षद्वयको छलफलमा पनि संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको थियो । उनीहरूले बिहीबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि छलफल गर्ने तयारी गरेका छन् । शुक्रबार सचिवालय नेताहरूसँगको परामर्शपछि जतिसक्दो छिटो संवैधानिक तथा राजनीतिक नियुक्ति गर्ने नेताहरूको भनाइ छ ।

समाचार

आशंका नगरौं, समयमै महाधिवेशन हुन्छ : देउवा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेस सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन हुने दाबी गरेका छन् । कोभिड–१९ अनुगमन समितिद्वारा बुधबार आयोजित प्रदेश ५ को अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू पार्टीको विधानबाहिर जान नसक्ने बताएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन नगराई पार्टीमा संवैधानिक संकट निम्त्याउन खोजिएको आशंका बढाइरहेका बेला देउवाले नेपालको संविधान र पार्टीको विधानबारे आफू जानकार रहेको बताए । ‘तपाईंहरू चिन्ता नगर्नुहोस्, पार्टीको विधानबाहिर जान सक्दिनँ । किन आशंका गर्नुहुन्छ ? तोकिएको मितिमै महाधिवेशन हुन्छ,’ उनले भने, ‘कांग्रेसमा मेरो विरोध जति पनि गर्न पाइन्छ तर जनता मालिक हुन् । भोलिको चुनावमा कसरी जितेर आउने, त्यतातिर सोच्नुहोस् ।’ उनले पार्टीभित्र आफ्नो विरोध गरे पनि प्रधानमन्त्री
केपी ओलीको विरोध गर्न नसकेको बताए । ‘शेरबहादुर देउवाको जति पनि विरोध गर्न पाइन्छ तर ओलीको विरोधमा कोही बोल्दैन,’ देउवाले भने, ‘सरकारले यत्रो ज्यादती गर्दा पनि किन विरोधमा बोल्न सक्दैनन् ?’

समाचार

प्रहरीमा नयाँ आचारसंहिता

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रहरी प्रधान कार्यालयले महिला सहकर्मीलाई धाप मार्न नपाइने, अनुमतिबिना विदेशीसँग भेटघाट गर्न नपाइनेलगायतका प्रावधानसहितको कार्यादेश ल्याएको छ । संगठनभित्र अनुशासित, मर्यादित एवं व्यावसायिक आचरण कायम गराउन ‘नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश’ ल्याइएको हो । कार्यादेशअनुसार सबै दर्जाका प्रहरीले महिला प्रहरीलाई गलत मनसायले छुने, स्पर्श गर्ने, धाप मार्नेलगायतका गतिविधि गर्न पाउने छैनन् । कार्यादेशमा अनुमतिबिना विदेशी कूटनीतिक नियोग, कूटनीतिज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाहीको भागीदार हुनुपर्ने भनिएको छ । कार्यादेशअनुसार माथिल्लो दर्जाको अनुमतिबिना कुनै पनि प्रहरीले सञ्चारमाध्यममा लेख, रचना तथा विचार प्रकट गर्न पाउने छैनन् । राजनीतिक आस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा असर पुग्ने, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितविपरीत हुनेलगायत संगठनले निषेध गरेका धारणा तथा अभिमतमा प्रतिक्रिया, ‘लाइक’ जस्ता क्रियाकलाप गर्न पाइने छैन । जाति/भाषा, लिंग, सम्प्रदाय, धर्म, शारीरिक बनावट विशेषका आधारमा कसैलाई हत्याउन वा मानमर्दन गर्न पाइने छैन । सेवाग्राहीसँग आग्रह/पूर्वाग्रह भएर व्यवहार वा कार्यसम्पादन गर्न नपाइने व्यवस्था पनि गरिएको छ । शिष्ट, सभ्य र विनम्र भएर सेवाग्राहीसँग व्यवहार गर्नुपर्नेछ । सेवाका क्रममा महिला/बालबालिका तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने कार्यादेशमा उल्लेख छ ।

Page 4
समाचार

बेपत्ताको खोजीमा परिवार मात्रै

- प्रकाश बराल

(बागलुङ) - गत भदौ १७ मा भुजी खोलाको बाढीपहिरोले ढोरपाटन नगरपालिका–९ का हेमबहादुर विकसहित परिवारका पाँच जनालाई बगायो । हेमबहादुर, श्रीमती दिलमाया र माइला छोरा ९ वर्षका मनोजको शव भेटियो । कान्छा छोरा ५ वर्षका विराज र १० महिनाकी छोरी उमिसाको हालसम्म कुनै पत्तो छैन ।
जेठा छोरा आशिषले जेठा हजुरबुबा भीमबहादुर कामीको घरमा आश्रय लिइरहेका छन् । उनले त्यहीं बाबुआमाको काजकिरिया गरे । अभिभावकविहीन भएको भन्दा पनि उनलाई साथीजस्तै भाइ विराज बेपत्ता भएकोमा चिन्ता छ । बहिनी उमिसा सम्झेर रोइरहन्छन् । भन्छन्, ‘जिउँदै भेटिए कति रमाइलो हुन्थ्यो ।’
बाढीपहिरोमै बगेका अर्का स्थानीय करबहादुर विक र उनका छोरा मदनको शव भेटियो । श्रीमती हस्तमाया बेपत्ता छिन् । छोरी सुस्मिता भने संजोगले जोगिइन् । कान्छाबुबाका छोरा आशिषले नै उनका बुबाको पनि काजकिरिया गरे । १५ वर्षकी सुस्मिता पनि जेठा हजुरबुबा भीमबहादुरकै आश्रयमा छिन् । यी दुवै परिवार हेमबहादुरको भाइखलक हुन् । ७० वर्षीय भीमबहादुरलाई २ नातिनातिना पाल्ने दायित्व थपिएको छ । बेपत्ता भेट्टाउन सकिने–नसकिने चिन्ता पनि छ । उनी हराइरहेका आफन्तको खोजीमा दिनहुँ भुजी खोलामा निस्कन्छन् । साथ दिने कोही भेटिँदैनन् । ‘गएर भत्केको घर हेर्छु, बेपत्ता त्यतै छन् कि भन्ने लाग्छ, बगरमा केही नभेटेपछि फर्कन्छु,’ उनले भने, ‘बेपत्ताको खोजी गर्न कसैको मन छैन ।’ बरु धेरैले सोधीखोजी गर्दै फोटो खिचेर मात्रै लैजाने गरेको उनले गुनासो गरे । विक दाजुभाइले एक वर्षअघि मात्रै घर बनाएका थिए ।
बाढीपहिरोपछि एक सातासम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले बेपत्ताको खोजी गरेका थिए । ३८ जना बेपत्ता भएकामा २२ जनाको शव भेटियो । अझै १६ जनाको कुनै खबर छैन । उनीहरूको खोजी हुन छाडेको साता भइसक्यो । ‘अब भेटिँदैन भन्ने भयो,’ बागलुङ प्रहरीका डीएसपी राजेन्द्र रेग्मीले भने, ‘बरु प्रशासनले कार्यविधि बनाएर बेपत्तालाई पनि राहत दिने योजना ल्याउनुपर्छ ।’ घटनास्थलदेखि एक सय किलोमिटर तलसम्म खोजी गरिएको उनले बताए । लाँकुरीबोटकै कौशिला पुन र उनका छोरा विशाल पनि बेपत्ता छन् । कौशिलाका श्रीमान् विदेशमा भएकाले भाइ शेरबहादुरले उनीहरूको खोजी गरिरहेका
छन् । ‘लास पनि छैन, सास पनि छैन, दाइ आउँदा के बुझाउने ?,’ उनले भने, ‘खोजी र उद्धारमा चासो दिन छाडियो, हाम्रा मान्छे
मरे–बाँचेको केही प्रमाण पाइएन ।’ विदेशबाट दाइको फोन आउँदा जवाफ दिन नसकेको
उनले बताए ।
‘बेलाबेला खोज्न जाऔं भन्दा विद्यालयमा बसेका प्रहरी टेर्दैनन्,’ उनले भने, ‘अब भेटिँदैन भनेर टारेका छन्, लास नभेटेसम्म मरेको कि जिउँदो कसरी पत्याउनु ?’ प्रहरी प्रशासनले पीडितको चासो राख्नै छाडिसकेको उनले टिप्पणी गरे । ‘अहिले त १० जना प्रहरी गाउँमा आउजाउ गरिरहन्छन्, खोलामा खोज्ने कोही छैन,’ उनले भने, ‘मरेकाका परिवारले त राहत पाउलान्, बेपत्ताको लेखाजोखा नहुने भयो ।’
बाढीपहिरोकै कारण ढोरपाटन–९ दुबालका ९ वर्षका रोशन विक, ४ वर्षका रवि विक, २२ वर्षीया मनकुमारी विक, १५ वर्षीया मनीषा विक, २१ वर्षीया टेकमाया विक र उनकी १० महिनाकी छोरी तिर्सना पनि हराइरहेका छन् । त्यस्तै, भुसुन्डेका १२ वर्षका समुद्र विक, ८ वर्षका मोहन विक, लाँकुरीबोटकी ५५ वर्षकी तुलमती घर्तीको पनि कुनै खोजखबर छैन ।
गृह मन्त्रालयले दिने राहत रकम अहिलेसम्म गाउँमा पुगेको छैन । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नगरपालिकाको रिपोर्ट नआएर राहत वितरणमा ढिलाइ भएको बताए । ‘मृतकको सनाखत र नाता प्रमाणितको प्रतिवेदनबिना राहत दिन सकिँदैन,’ उनले भने, ‘नगरपालिकालाई ताकेता गरिरहेका छौं, उताबाट आएको छैन, त्यसैले ढिला भएको हो ।’ मृतकको सनाखत र नाता प्रमाणित भएपछि परिवारका एक जनाको मृत्यु भएमा २ लाख र त्यसभन्दा धेरैको मृत्यु भएमा थप एक–एक लाख रुपैयाँ राहत रकम पाउने व्यवस्था छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राखेर भेटिन नसक्ने कारण भए खुलाएपछि बेपत्तालाई पनि मृतकसरह राहत उपलब्ध गराउने उनले स्पष्ट पारे । ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले खोजी र उद्धार जारी रहेकाले अन्तिम प्रतिवेदन दिन नसकेको बताए । ‘मृतक र बेपत्ताको संख्या तथा भत्केका घरको विवरण बुझाएका छौं,’ उनले भने, ‘सीडीओसाबले सोधिरहनुभएको छ, केही दिनमा पूर्ण विवरण दिन सकिएला ।’

बेनी–जोमसोम सडकमा बारम्बार सास्ती
म्याग्दी– मुस्ताङका स्याउ गाडीमा हालेर पोखरा र काठमाडौंका बजारमा पठाउने बेला सुरु हुँदै गर्दा बेनी–जोमसोम सडक पुनः अवरुद्ध भएको छ । भारी वर्षापछि रुप्से झरनामा आएको बाढीले केही भाग सडक बगाएपछि बुधबारदेखि पैदल यात्रु पनि हिँड्न नमिल्ने भएको हो । बेनी–घाँसा ३६ किलोमिटर खण्डमा वर्षायामका ३ महिना सधैं यात्रुले सास्ती खेप्दै आएका छन् ।
यसपटक गत असार अन्तिम सातादेखि नै यो खण्डमा समस्या थियो । बाढीपहिरोले गरेको अवरोधको चार सातापछि भदौ १ मा पुनः आवागमन सुरु भएको थियो । यसैगरी बेग खोलामा बाढी आएपछि यातायात अवरुद्ध छ । झोलुंगे र फड्के पनि नहुँदा बिरामीसमेतले खोला वारपार गर्न पाएका छैनन । ‘बेग खोलामा यात्रु हिँड्ने झोलुंगे वा फड्केसमेत नहुँदा पानीको सतह बढ्दा यात्रुलाई सास्ती भएको छ । बुधबार नै बेनी अस्पताल ल्याइँदै गरेकी गर्भवती रोकिएको खबरपछि एक्स्काभेटरमा राखेर खोला तारियो,’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘पैदलयात्रुलाई खोला तार्ने अर्को विकल्प नहुँदा सडकको एउटा एक्स्काभेटर राखेर मान्छे तार्ने गरेका छौं । घाम लागेर पानी घट्दा गाडी/ट्र्याक्टरले पनि तारिदिन्छन् ।’

समाचार

बाढीपहिरोले बारीको बास

- कान्तिपुर संवाददाता

दोलखा (कास)– कालिञ्चोकस्थित लापिलाङवासी निद्राबाट ब्युँझिँदा घट्टेखोलामा पानीको सतह बढ्दै बस्ती पस्न थालेको थियो । बिहान एक्कासि पहिरोको लेदोसँगै ल्याएको हिलोले आँगन भरिएर ढोकैभित्र पसेपछि चलककुमारी थामीले थाहा पाइन् । र, हत्तपत्त चार जना बालबालिका च्यापेर घरबाट निस्किइन् । नजिकैको बारीको पाटामा भिज्दै बसिन् ।
उक्त ठाउँमा ५४ जना अझै त्रसित अवस्थामा छन् । पहिरो र बाढीले घर क्षति पुर्‍याएका उनीहरू १६ वटा छाप्रा बनाएर बसेका छन् । सोमबार मध्याह्न पुग्दा भर्खरै बनेका भकारीका छाप्रामा दिनको १२ बजेसम्म धूवाँ निस्केको थिएन । ३० बालबालिकासहित सबै भोकै थिए । चलककुमारीका जेठी १३ बर्षकी सुस्मिता थामी खाना पकाउन खुकुरीले झिक्रा चिर्दै थिइन् । चलककुमारी भने बाढी र पहिरोले क्षति गराएको घरमा बचेका सामान ओसार्दै थिइन् । ‘हिजो राति आरामले सुतेका थियौ । बिहान चिहानबाट उठेको जस्तै भयो,’ स्थानीय सन्तोष थामीले भने, ‘एक्कासि खोलाले बहाव बदलेर बस्तीतिर पस्यो, सबै बालबच्चा च्यापेर भाग्यौं ।’ उक्त वडाको लापिङस्थित बन्धर, काँडाबारी, बन्देथलीका बस्ती र खेतीयोग्य जमिनमा पहिरो र वाढीले क्षति गरेको छ । बस्तीका सबैजना खेतीमै निर्भर छन् । केही वैदेशिक रोजगारीमा गएका छन् । करिब पाँच सय रोपनी जमिनमा रहेको घर र खाद्यबाली नष्ट भएको प्रारम्भिक तथ्यांक वडा कार्यालयले संकलन गरेको छ । छाप्रामा बसेकाहरूलाई सुरक्षित स्थानमा लैजान प्रयास भइरहेको कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीले वताए । उक्त स्थानमा गाउँपालिका र विभिन्न दाताहरूबाट प्राप्त सहयोगले उद्धार कार्य भइरहेको उनले जानकारी दिए ।

समाचार

तेन्जिङलाई भारत रत्न माग

- कान्तिपुर संवाददाता

दार्जिलिङ (कास)– दार्जिलिङका सांसद राजु विष्टले भारतको संसद्मा सगरमाथा शिखरमा पहिलोपटक पुगेका तेन्जिङ नोर्गे शेर्पालाई सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गर्न माग गरेका छन् । ‘सर्वोच्च नागरिक सम्मानका निम्ति शेर्पा सर्वाधिक योग्य हुन् । त्यसैले माग गरेको हो,’ विष्टले भने । शेर्पा र एड्मन्ड हिलारी २९ मे १९५३ मा सगरमाथाको शिखरमा पुगेका थिए ।

समाचार

अझै जोखिमयुक्त पूर्वाधार

- विमल खतिवडा

(काठमाडौं) - पाँच वर्षयताकै ठूलो ६ म्याग्निच्युडको भूकम्प बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर गयो तर खासै क्षति भएन । नेपालमा भूकम्पको जोखिम टर्‍यो भन्ने अवस्था भने नरहेको विज्ञहरू बताउँछन् । भूकम्पबाट जोगिन भवनलगायतका संरचनालाई मजबुत बनाउनुपर्नेमा उनीहरूको जोड छ ।
पूर्वाधारविज्ञ पूर्वसचिव किशोर थापाका अनुसार हिमालय पर्वतको काखमा रहेकाले नेपाल धेरै जोखिममा छ । ‘यहाँ ठूलासाना भूकम्प गइरहन्छन् । त्यहीअनुसारको पूर्वतयारी गर्नुपर्छ,’ उनले भने, ‘भूकम्प कहिलेकाहीं त आउने हो भनेर हेलचेक््रयाइँ गर्नु हुँदैन । कुनै पनि बेला जुनसुकै ठाउँमा भूकम्प जान सक्छ ।’
भूकम्प प्रतिरोधक भनेर नभत्किने बनाउन गाह्रो भए पनि भूकम्प आइहाले सुरक्षित हुने घर हुनुपर्ने थापाको भनाइ छ । ‘घर भत्किए पनि हामी सुरक्षित हुनुपर्‍यो,’ उनले भने, ‘अस्पताल, विद्यालय, कार्यालयलगायतका सार्वजनिक संरचना भूकम्प आउँँदाआउँँदै पनि सञ्चालनयोग्य हुनुपर्छ । घर वा कार्यालय भूकम्प आएका बेला बाहिर निस्कन सकिने र ज्यान जोखिममा नपर्ने हिसाबले बनाउनुपर्छ ।’ उनका अनुसार निजी आवासका छाना धेरै गह्रँँगो हुनुहुँँदैन । नत्र छाना भत्किने खतरा बढी हुन्छ ।
थापाले भूकम्पको इतिहासपछि पूर्वाधार निर्माणमा सुधार हुँँदै गएको बताए । उनका अनुसार अहिले भएका अधिकांश संरचना ९० सालको भूकम्पपछि बनेका छन् । ‘९० सालको भूकम्पपछि निर्माणमा हामी केही सचेत भयौं, ०४५ सालको भूकम्पपछि हामीले भवन संहिता थप बनायौं,’ उनले भने, ‘चेतना धेरै बढेको छ, संरचना बलिया बन्दै गएका छन् ।’ उनका अनुसार ०४५ सालमा बढी विद्यालय भत्किए । तर ०७२ सालको भूकम्पले निजी आवासमा बढी क्षति गरायो । त्यतिबेला भत्किएका संरचनाको पुनर्निर्माण ५ वर्ष बित्दा पनि सकिएको छैन ।
०७२ को भूकम्पबाट देशभर ३२ जिल्ला प्रभावित भए । जसमा १४ अति प्रभावित र १८ जिल्ला कम प्रभावितको सूचीमा छन् । लाभग्राहीको सूचमिा रहेकाको संख्या ८ लाख ३४ हजार ९ सय ११ थियो । त्यस्तै प्रबलीकरण (रेक्ट्रोफिटिङ) गर्नुपर्नेको संख्या ७७ हजार ३ सय २५ थियो । देशभर संरक्षण गर्नुपर्ने बस्ती ३ सय ४० वटा र स्थानान्तरण गर्नुपर्ने २ सय ९९ वटा थिए । सबै गरेर ६ सय ३९ बस्ती जोखिममा देखिएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत गरिएको प्रारम्भिक अध्ययनअनुसार अझै केही बस्ती स्थानान्तरण र संरक्षण गर्नुपर्ने छ । पाँँच वर्षमा पनि जोखिममा रहेका बस्ती स्थानान्तरण र संरक्षण गर्नेतर्फ राम्रो काम हुन सकेको छैन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार रेक्ट्रोफिटिङमा अपेक्षित प्रगति छैन । रेक्ट्रोफिट गर्नेले दुई किस्ता गरेर एक लाख पाउँँछन् । ‘पहिलो किस्ता करिब ५५ हजार जतिले लिएका छन्,’ उनले भने, ‘दोस्रो किस्ता लिने ३ सय मात्र छन् ।’ उनका अनुसार रेक्ट्रोफिट गर्दा घरलाई प्राविधिकको सल्लाहअनुसार वैज्ञानिक प्रविधि अपनाएर सुधार गरी सुरक्षित बनाइन्छ । यो सुविधा जोखिममा रहेका घरहरूलाई छ । ‘भत्काएरै बनाउनुपर्ने घरलाई पुनर्निर्माणमा राखिएको छ,’ घिमिरेले भने, ‘भूकम्पबाट क्षति भएका घरलाई नभत्काइकन वैज्ञानिक प्रविधि प्रयोग गरेर सुरक्षित बनाउन सक्ने देखिएकालाई प्रबलीकरण वर्गमा राखिएको हो ।’ सहप्रवक्ता घिमिरेका अनुसार प्रबलीकरण अहिलेको राम्रो प्रविधि हो । ‘सिंहदरबारको पश्चिमी मोहडामा रेक्ट्रोफिट गरिरहेका छौं,’ उनले भने, ‘यस्तै खालको प्रविधि निजी आवासमा पनि गर्ने भन्ने हो । यसबाट पुरानो घर जस्ताको त्यस्तै रहने भयो, पुराना कलाकौशल मासिने भएनन् । तर यो व्यक्तिको चाहनामा भरपर्ने कुरा भयो, त्यसैले यसमा सोचेअनुरूप काम हुन सकिरहेको छैन । यसबाट पुरानो घर जस्तो थियो, त्यस्तै रहने भयो, पुरानो कलाकौशल मासिने भएन ।’ नयाँ घर बनाउनेभन्दा कम खर्च लाग्छ । प्रबलीकरण गर्न सम्भव नभए पुनर्निर्माण वर्गमा परिवर्तन गरिदिने नीति छ । जसका लागि १० हजार जनाले निवेदन दिएका छन् । उनका अनुसार निजी आवास निर्माणमा प्रगति ९२ प्रतिशत छ । ‘७० प्रतिशत सम्पन्न भइसकेका छन् । २२ प्रतिशत निर्माणाधीन छन्,’ घिमिरेले भने ।
संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गर्दै राष्ट्रिय भवन संहिता अद्यावधिक गरिएको छ । भूकम्प प्रतिरोधी संरचना बनाउन जोड दिँदै भवन संहिता २५ वर्षपछि अद्यावधिक गरिएको हो । सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार संहिता लागू
भने भइसकेको छैन । ‘लागू हुन राजपत्रमा आउनुपर्छ,’ उनले भने,
‘मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ, मुख्य सचिवबाट प्रमाणीकरण भएर आउन बाँकी छ ।’ स्थापित इन्जिनियरिङ मान्यता र सिद्धान्तअनुरूप भूकम्प प्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्न सहयोग पुर्‍याउने संहितामा उल्लेख छ । संहिताले नयाँँ प्रविधि र विधिलाई प्रयोग गर्न बाटो खुल्ला गरिदिएको छ । यो संहिता बनाउने क्रममा नेपाल, भारत, चीनलगायत देशमा गएका तर रेकर्ड नभएका भूकम्पको अध्ययन गरिएको छ ।

 

Page 6
सम्पादकीय

कुलमानसित तर्सिएको सरकार

- कान्तिपुर संवाददाता


राजनीतिशास्त्रमा चुनावका बखत प्रयोग हुने एउटा पदावली छ— ‘एन्टी
इन्कम्बेन्सी’ अर्थात् सत्तासीनहरूको विपक्षमा उठ्ने जनमत । सरकारको सन्दर्भमा मात्र होइन, हाम्रोजस्तो कमजोर सार्वजनिक सेवा प्रणाली भएको मुलुकका अधिकांश सार्वजनिक अड्डाहरूको हाल पनि यही हो । जनसरोकारका जुनसुकै सरकारी निकाय–संस्थानहरूमा पुग्ने नेतृत्वसित पनि जनता बेलैमा ‘अघाइहाल्छन’् । नेपाल विद्युत् प्राधिकरणबाट हालै कार्यकारी निर्देशकको कार्यकाल सकाएका कुलमान घिसिङ भने यस्तो अपवाद निस्किए, जसलाई आम नागरिकले फेरि पदासीन भएको हेर्न चाहेका छन् । यसको कारण उही हो— मुलुकका अधिकांश सरकारी निकाय/संस्थानहरूको कार्यसम्पादन औसत हुँदा पनि चित्त बुझाउनुपर्ने अवस्थामा पछिल्ला चार वर्षमा विद्युत् प्राधिकरणको छलाङ हेर्नलायक रह्यो । पक्कै पनि यसो हुनुमा केही सकारात्मक योगहरूको फल थियो, तर यसको केन्द्रमा उनै घिसिङ थिए, जसले २०७३ भदौ २९ यताका चार वर्ष प्राधिकरण हाँक्दा केही उल्लेखनीय सुधार गरे ।
दैनिक १८ घण्टासम्मको लामो लोडसेडिङबाट मुलुकलाई मुक्ति दिलाउन घिसिङको व्यवस्थापकीय भूमिका अहम् थियो । जबकि यो हरेक नेपालीलाई अकल्पनीय र असम्भवप्रायः विषय लागेको थियो, घिसिङभन्दा अघिका कार्यकारी निर्देशकले
त तत्काल लोडसेडिङ हटाउनै नसकिने ठोकुवा–बाजी राखेका थिए । त्यसैले घिसिङको कार्यकालको उज्यालोमा मुलुकमा विद्युत् विकासको सम्भावना देखेका आम नेपालीले अब पनि उनी नै दोहोरिएको हेर्न चाहेका हुन् । त्यहीअनुसार
सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनको समर्थनमा जनमत देखिएको
हो । कति त उनको पक्षमा सडकमै ओर्लिएका छन् । यी कसैले पनि स्वार्थवश उनको समर्थन गरेजस्तो देखिँदैन । र, कतिपय राजनीतिज्ञ/व्यक्तिहरूको
समर्थनमा देखिनेजस्तो यो प्रायोजित भीड पनि होइन । तैपनि किन–किन उनलाई पुनर्नियुक्ति दिनेतर्फ सरकारले चासो देखाएको छैन । बाहिर चर्चामा आएजस्तो यसमा प्रधानमन्त्री स्वयंको अरुचि हो या अरू केही कारण पनि छन्, त्यो खुल्न बाँकी नै छ ।
सिद्धान्ततः सरकारलाई यस्तो पदमा योग्यता पुगेका जोकोहीलाई नियुक्त गर्ने छुट छ । सरकारसित यस पदका लागि घिसिङभन्दा दोगुना व्यवस्थापकीय कौशल भएका उम्मेदवार पनि हुन सक्छन् । सरकारले अब नियुक्ति गर्ने व्यक्तिले प्राधिकरणलाई हालको भन्दा तीव्र वेगमा तरक्की गरिदिन पनि सक्छन् । तर किन जनतालाई यो सबै कुराको भर भइरहेको छैन ? किन घिसिङभन्दा उपयुक्त व्यक्तिको खोजीमा सरकार लागेको हो भन्ने विश्वास कसैमा छैन ? आम मानिसमा किन युगौंपछि बल्लबल्ल सम्हालिएको विद्युत् प्राधिकरण घिसिङको अनुपस्थितिमा फेरि भद्रगोलतिर जाला कि भन्ने डर पलाएको हो ? प्राधिकरणको कार्यकारी
निर्देशकमा जसलाई नियुक्त गरे पनि यी प्रश्नहरूबाट भाग्ने छुट सरकारलाई
छैन । किनभने, यी सवालहरू उठ्नुको अर्थ एउटै छ— आम नागरिकलाई सरकारले राम्रै गर्न खोज्दै छ भन्ने विश्वास छैन र उनीहरू प्राधिकरणको लय भत्किएको
हेर्न चाहँदैनन् ।
निश्चय पनि, लोकतान्त्रिक व्यवस्थामा व्यक्तिविशेषभन्दा स्थापित प्रणाली महत्त्वपूर्ण हुन्छ । व्यक्तिविशेषलाई मात्रै उद्धारकका रूपमा हेरिनु प्रणालीविहीनताको पक्षमा उभिएको अर्थ लाग्छ । फेरि, एउटै व्यक्ति कुनै संस्थामा अकण्टक रहन्छ भन्ने पनि हुँदैन । एउटा निश्चित अवधिपछि जोकोहीले जुनसुकै पद छाड्नैपर्छ । त्यसैले शंकै छैन, निरन्तरता व्यक्तिको भन्दा पनि पद्धति तथा प्रणालीको हुनुपर्छ । तर यहाँ गम्भीर सवाल के छ भने पद्धति बसाल्न पनि व्यक्ति–व्यक्तिको अहम् भूमिका
हुन्छ । प्राधिकरणमा घिसिङले एउटा प्रणाली बसाल्न खोजेका पक्कै हुन् । तर मूलभूत रूपमा समग्र शासन–प्रशासन प्रणालीबद्ध भइनसकेकै कारण घिसिङले एउटा संस्थानमा बसालेको प्रणाली पनि भताभुंग बनाइन्छ कि भन्ने आशंका आम नागरिकमा उठेको हो । समग्रमा यो सरकारप्रतिको अविश्वास हो । तसर्थ, रूपमा जनताले व्यक्ति खोजेको देखिए पनि खासमा चाहेको प्रणाली नै हो ।
कुन्नि किन हो, देशको एउटा संस्थान प्रमुख यसरी जनजनको मनमा बस्न सफल भएको कुरा सत्तासीनहरूलाई चाहिँ फिटिक्कै चित्त बुझेको देखिँदैन । अझै घिसिङमाथि आरोप नै लगाइएको छ, उनी ‘प्रचारमुखी’ हुन खोजे भनेर । तर उनले सार्वजनिक मञ्चहरूमा सधैं आफ्ना कामको जस राजनीतिक नेतृत्वलाई नै
दिएका छन् । फेरि, उनी आम जनतालाई ‘स्याटेलाइटबाट बिजुली बेच्ने’ जस्तो हावादारी गफ दिएर वा ‘घरघरमा ग्यासको पाइपलाइन जोडिदिने’ जस्ता
तत्काल पूरा नहुने सुदूरभविष्यको सपना देखाएर चर्चित भएका होइनन् । उनी त घरघरका सर्वसाधारणले महसुस गर्न सक्ने काम गरेर स्थापित भएका हुन् । आँखैसामुन्नेको अँध्यारो हटाएर, अर्बौं घाटाको प्राधिकरणलाई नाफामा लगेर र विद्युत् चुहावट उल्लेख्य घटाएर नाम कमाएका हुन् । यी कामको सम्पूर्ण जस
उनी आफैंले लिन नचाहे पनि यसमा उनको महत्त्वपूर्ण भूमिका भएको यथार्थ जनताले बुझेका हुन् ।
सरकारको काम दक्ष र योग्य व्यक्तिको व्यवस्थापकीय कौशलबाट मुलुकका
लागि लाभ लिने हो, खुकुरीभन्दा कर्द धारिलो भएको रूपमा बुझेर ईर्ष्या गर्ने
होइन । हरेक सार्वजनिक निकायहरूमा यस्तै प्रतिभाशाली र क्षमतावान व्यक्ति
खोजेर समग्र प्रणालीलाई बलियो बनाउने हो । सरकार साँच्चिकै प्रणाली र उपप्रणालीहरू बसाउन र व्यवस्थित गर्न चाहन्छ भने कुनै पनि व्यक्तिको
लोकप्रियतासँग चिढिने होइन, त्यस्ता प्रतिभाहरूलाई प्रोत्साहित गर्नुपर्छ । काम नगरी कोही लोकप्रिय हुन खोजेको भए बेग्लै कुरा π जहाँसम्म घिसिङको प्रसंग हो, उनको पक्षमा यति धेरै जनदबाब उठिसकेपछि यो एउटा आम सरोकारको विषय बनिसकेको छ । यसमा अब सरकार चुपचाप बसिरहन मिल्दैन । घिसिङको कार्यकाल र कार्यसम्पादनबारे खोट छ वा जनमानसमा भ्रम छ भन्ने लाग्छ भने त्यसलाई पनि सरकारले सार्वजनिक गर्नुपर्छ । मुलुकको नेतृत्वले आफ्नो व्यक्तिगत अहम्का आधारमा होइन, सम्बन्धित व्यक्तिको व्यावसायिक दक्षता हेरेर निर्णय लिनुपर्छ । संस्था र प्रणाली बलियो बनाउने कि व्यक्तिगत अहम्को तुष्टि लिने,
सरकार अहिले यो जनपरीक्षासामु उभिएको छ ।

सम्पादकलाई चिठी

संवैधानिक आयोगहरू अपूर्ण

- कान्तिपुर संवाददाता


गणतन्त्रले विभिन्न संवैधानिक आयोगको व्यवस्था गरेको
छ । तर व्यवस्था गरे पनि सोचेअनुरूपको कार्य भएको छैन । आदिवासी तथा जनजाति, महिला, दलित, मुस्लिम, थारूलगायतका समुदायसम्बन्धी काम गर्ने आयोग अझै पूर्ण भएका छैनन् । आयोगमा अनुभव, योग्यता र क्षमता भएका व्यक्तिहरू पुर्‍याउन तत्काल विज्ञापन गरी कानुनी प्रावधानअनुरूप पदपूर्ति गर्नुपर्छ । इमानदार व्यक्तिहरूबीच प्रतिस्पर्धा गराए मात्रै योग्य पदाधिकारी आयोगमा पुग्ने हुन् । जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएका व्यक्तिहरूको खाजी हुनु आवश्यक छ ।
प्रतिस्पर्धाबाट आएका व्यक्तिहरूले कसैको प्रलोभनमा
नपरी जनताका लागि काम गर्छन् । राजनीतिक भागबन्डामा यस्ता आयोगहरू पर्नु हुन्न । सरकारले छिट्टै प्रतिस्पर्धाबाट नियुक्ति दिने व्यवस्था मिलाउनु जरुरी छ ।
– बलराम थापा, क्षेत्रपाटी, काठमाडौं

सम्पादकलाई चिठी

अव्यावहारिक निर्णय

- कान्तिपुर संवाददाता

कोरोना महामारी भयावह भइरहेको यो बेला अंग्रपक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूको संख्या पर्याप्त छैन । यसअघि पटक–पटक स्थगित हुँदै आइरहेको एमडीको प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोगले पुनः खुला गरी असोज १ देखि फाराम लिँदै छ । परीक्षाको तयारीका लागि अधिकांश अस्पतालका चिकित्सकहरू लामो समय बिदामा बस्नेछन् । कोरोना नियन्त्रण र उपचारमा
अग्रपंक्तिमा काम गर्ने यस्ता जनशक्ति थप गर्नुपर्ने
अवस्थामा उल्टै जबरजस्ती बिदामा बस्न बाध्य पार्ने
निर्णय उचित भएन । महामारीका बेला देशभरिका चिकित्सकहरू यसरी बिदामा बस्न बाध्य पार्नु काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं भएन र ? आयोगको यो निर्णय अपरिपक्व छ । अझै पनि अवस्था बिग्रिएको छैन, यसपटकको विज्ञापन पनि पुनः स्थगित गरी कोरोना कहर समाप्त हुने लक्षण देखापर्नेबित्तिकै खुलाउन सकिन्छ । यो अव्यावहारिक निर्णय तुरुन्त
फिर्ता गर्न सम्बन्धित निकायको ध्यानाकर्षण
गराउन चाहन्छु ।
– नरनाथ पाण्डे, कावासोती–८, नवलपुर

सम्पादकलाई चिठी

बिमा कम्पनीको बहानाबाजी

- कान्तिपुर संवाददाता

‘बिमाकै विश्वास घटाउने काम’ सम्पादकीयले महत्त्वपूर्ण विषयवस्तु उठाएको छ । बिमा कम्पनीहरूले सर्वसाधारणहरूलाई कोरोना बिमा रकम लिन निकै झन्झटिलो बनाइदिएका छन् । बिमा समितिले पनि बिमा कम्पनीहरूकै पक्षमा निर्णय गरेको छ । ‘माछा देखे दुलाभित्र हात र सर्प देखे दुलाबाहिर’ भन्ने उखान बिमा कम्पनीहरूमा ठ्याक्कै मेल खान पुगेको छ । पश्चिमा मुलुकलाई कोरोना भाइरसले सताइरहेको बेला यहाँ भने भाइरसको प्रभाव कम हुने आकलन सरकारी विज्ञहरूले गरेका थिए । यसकै आधारमा बिमा कम्पनीहरूले भटाभट बिमा रकम उठाए । मौकाको फाइदा उठाइहालौं भन्ने उनीहरूलाई लागेको थियो । अहिले संक्रमण फैलिएसँगै उनीहरू आफ्नो पूर्ववाचाबाट पन्छिएका छन् । त्यतिबेला
हतारमा राम्रै फसल हात पार्न सफल भए । अहिले जनतालाई पैसा दिनुपरेपछि अनेक बहानाबाजी गर्दै छन् । बिमा कम्पनीको निकृष्ट व्यवहार नसुध्रने हो भने बिमाप्रति नै वितृष्णा उत्पन्न हुनेछ ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

सम्पादकलाई चिठी

कुलमानको बहिर्गमनले खिन्न

- कान्तिपुर संवाददाता


सरकारले कुलमान घिसिङलाई अर्को कार्यकाल थपेन ।
कुन ठाउँमा कस्तो व्यक्तिको सेवा लिने भन्ने विषय सरकारको कार्यक्षेत्रअन्तर्गत पर्छ । तर, दशकौंदेखिको लोडसेडिङ अन्त गरेर घाटामा रहेको संस्थालाई नाफामा पुर्‍याएर घिसिङले जुन उदाहरण प्रस्तुत गरे त्यसको
चौतर्फी प्रशंसा हुनु र त्यत्तिका काविल मानिसलाई अर्को
एक कार्यकाल थप होस् भन्ने जनचाहना हुनु अनौठो थिएन । घिसिङकै अभिव्यक्तिअनुसार अहिले मुलुकमा विद्युत् पूर्वधारको विकासका लागि आवश्यक आधार तयार भइसकेको छ । उनले यही आधारहरूलाई निरन्तरता
दिए विद्युत्ले ठूलै फड्को मार्न सक्ने बताउँछन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा बोकेको सरकारले उनको कार्यकाल थप नगरेर समृद्धिको अभियानमा घिसिङजस्ता इमानदार मानिसको आवश्यकता छैन भन्ने सन्देश
दिएको छ । उनलाई पुनर्नियुक्ति नदिने सरकारको चाहना जनभावनाविपरीत छ । यसले जनतालाई खिन्न बनाएको छ ।
– महेशप्रसाद ढुंगाना, नयाँ वानेश्वर, काठमाडौं

‘घिसिङको कार्यकाल सकियो, पुनर्नियुक्ति अन्योलमा’
समाचारले ओली सरकारको कलुषित र कपटी मानसिकता छर्लंग पारेको छ । आम जनताको नजरमा
उज्यालोका पर्याय बनेका कुलमान घिसिङको कार्यकाल सकिइरहँदा सरकार भने अन्योलमा छ । दिनको २२ घण्टा अँध्यारोमा बस्न अभ्यस्त हामी विद्युत् प्राधिकरणमा घिसिङको आगमनसँगै लोडसेडिङमुक्त भएका हौं । बिचौलिया र विवादितहरूलाई पटकपटक अनेकतिर नियुक्त गर्न जुर्मुराउने सरकार वर्षौं घाटा
बेहोरेर रुग्ण भएको संस्थालाई अकल्पनीय रूपमा नाफामा लैजान सफल घिसिङजस्ता कर्मवीरलाई दोहोर्‍याउन आलटाल गरिरहेको छ । कर्तव्यपरायण व्यक्तिप्रति द्वेषपूर्ण मानसिकता देख्दा सरकार जेनेरेटर र इन्भर्टर व्यापारीहरूलाई खुसी पार्न उत्साहित रहेको
आशंका उब्जाएको छ । यसरी नै जनभावनालाई लत्याउँदै विवादित कार्य गर्दै जाने हो भने दल र नेताहरू
मात्र होइन, मुलुक नै दुर्घटनामा पर्न सक्छ । जनआवाज कुल्चेर भोलिका दिनमा तिनै जनतासँग भोट माग्न लज्जाबोध हुन्छ कि हुँदैन ? हरेक नियुक्तिमा ढोगभेट र ब्रिफकेसका कुरा समाचारमा आउनु नेताहरूका लागि पनि राम्रो सन्देश होइन । कुलमानको भित्री पाटो हामी जान्दैनौं । केवल यति थाहा छ— मोबाइल चार्ज गर्न, पानीको मोटर चलाउन, टीभीमा समाचार हेर्न र विभिन्न विद्युतीय सामग्री उपभोग गर्न लोडसेडिङको
तालिका हेर्नुपर्थ्यो, चार वर्षअघिसम्म । तर उनकै कार्यकालमा अँध्यारो चिरेर उज्यालो पायौं । क्षमतावान् र योग्य व्यक्तिलाई पाखा लगाउँदै जाने अनि ठग र अपराधी
मनोवृत्तिका बिचौलियाले मात्र अवसर पाउने हो भने नेताहरूको बोलीमा समृद्धि भए पनि व्यवहारमा देश र जनताको बरबादी रहेको यथार्थ झन्झन् गहिरिँदै जान्छ ।
कुलमानको बहिर्गमनले मुठ्ठीभर माफिया आनन्दित र हर्षित होलान् । तर जनचाहना बुझेर एकपटक उनैलाई
मौका दिए जुझारु र कर्मशील भएर डुबेको र तन्नम अवस्थामा पुगेको प्राधिकरणलाई अझ सशक्त बनाउने थिए कि ?
– रोशन भट्टराई, इनरुवा–३, सुनसरी

सम्पादकलाई चिठी

के काम यस्ता कुलपति ?

- कान्तिपुर संवाददाता

१. आफ्नो प्रभावमा विश्वविद्यालय राख्ने बहानामा विश्वविद्यालयको कुलपति बन्ने रहर सबै प्रधानमन्त्रीमा देखियो । नेपाल खुला विश्वविद्यालयमा शिक्षामन्त्री र बाँकी सबै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुन् जसले विश्वविद्यालय सिनेटको अध्यक्षता गर्छ ।
२. प्रायः विश्वविद्यालयको सिनेट वर्षको २ पटक मुस्किलले बस्छ । यौटा दीक्षान्त समारोहको ग्रेस लिस्ट पास गर्न र अर्को विश्वविद्यालय बजेट स्वीकृत गर्न । यस हिसाबले कुलपति आलंकारिक मात्रै हुन् ।
३. सिनेटको अध्यक्षको नाताले विश्वविद्यालयको कुलपतिले अनावश्यक हस्तक्षेप गर्न
मिल्दैन । विश्वविद्यालय राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र होइन तर विडम्बना यही बनाइएको छ ।
४. विश्वविद्यालय सुचारु रूपले चलून् र तिनलाई कुलपतिको हैसियतले सरकारको तर्फबाट के सहजीकरण गर्नुपर्ने हो भन्ने मुख्य दायित्व कुलपतिको हुनुपर्ने होइन र ? खोइ त ?
५. हाम्रा विश्वविद्यालयमा त सिनेटको बैठकको मिति तय भैसकेपछि विश्वविद्यालयले तयार पारेको प्रस्ताव आफूले भनेजस्तो भएन
भनेर कुलपतिले बैठक स्थगन गराएका थुप्रै उदाहरण छन् । योभन्दा घीनलाग्दो हस्तक्षेप के हुन सक्छ ?
६. विश्वविद्यालय लथालिंग पार्ने काम कुलपतिले नै गर्दै आएका छन् । उपकुलपति नियुक्तिका लागि ‘आफ्ना मान्छे सम्मिलित’ सिफारिस समितिको सुझावअनुसार कुलपतिले उपकुलपति नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
तर न समयमा उपकुलपति नियुक्त हुन्छन् न पारदर्शी रूपमा नै । कुलपतिले खल्तीबाट नियुक्त गर्ने भए सिफारिस समितिको
नाटक किन ?
७. पार्टीभित्रको भागबन्डामा थिलोथिलो बनाइएको नेपालको उच्च शिक्षाको यो पुरानै रोग हो ।
नेपाल संस्कृत, पोखरा, र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १ वर्षभन्दा बढी समयसम्म उपकुलपति पद रिक्त हुँदा कुलपति मौन रहनुको अर्थ के ? के यही हो कुलपतिको दायित्व ?
८. यसले विश्वविद्यालयको दैनन्दिन क्रियाकलाप ठप्प भएका छन् । उपकुलपतिको अभावमा विश्वविद्यालयको अरू रिक्त पद पनि पूर्ति हुन सकेका छैनन् । सबै लथालिंग बनाइएको
छ । कुन देशमा छ यो गाईजात्रा ?
९. के यसरी उच्च शिक्षा धराशायी पार्ने काम कुलपतिको हो ? अलिकति पनि लाज हुनु नपर्ने ? विश्वविद्यालयलाई हाँक्ने भनेर गएका उपकुलपतिहरूमा पनि नियुक्तकर्ता राजनीतिक दलप्रति नै वफादार हुने तर विश्वविद्यालयको चासो कम लिने प्रवृत्ति हावी हुँदा बर्सेनि झन्डै १ लाख युवा गुणस्तरीय उच्च शिक्षाको लागि विदेश पलायन हुन्छन् । के काम भो हाम्रा विश्वविद्यालयहरूको ?
१०. सबै विश्वविद्यालयबाट यस्ता बेकामे कुलपति हटाऊ । बोर्ड अफ ट्रस्टिज गठन गरेर उच्च पदमा योग्यको नियुक्ति र काम गर्न नसके
खारेज गर्ने अधिकारसमेत दिने गरी उच्च शिक्षा ऐन परिमार्जन गर । विश्वविद्यालयलाई राजनीतिक दलको दुहुनो गाई बनाएर
कतिन्जेल रमाइरहने ?
– मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

दृष्टिकोण

नयाँ कांग्रेस बनाउने हो झने

- राधेश्याम अधिकारी

 

कडाउनको अवधिभित्र पनि चिकित्सकको सल्लाहबमोजिम बिहान हिँड्दै गर्दा मसँग भेट भएका एक सेवानिवृत्त वरिष्ठ अधिकृतले नेपाली कांग्रेस (नेका) को क्रियाशील सदस्य लिने चाहना राखेको बताउनुभयो । मैले
प्रत्युत्तरमा सम्बन्धित वडाका व्यक्तिसँग सम्पर्क राख्न अनुरोध गर्दा त्यसमा थोरै आनाकानी गरेको महसुस भयो । म त्यसपछि नयाँ सदस्यता प्रदान गर्दा सम्बन्धित व्यक्तिलाई भनिदिनेछु भन्ने आश्वासन दिएर अघि बढें ।
सोचाइ आइरह्यो— नेकाको क्रियाशील सदस्यता लिन यतिसम्मको
मान्छेलाई त कठिन पर्दो रहेछ भने आखिर क्रियाशील सदस्य कसले पाउने हो ? कसरी पाउने हो ?
यति बेला नेका चौधौं महाधिवेशनको मुखमा छ । फागुन दोस्रो साता महाधिवेशन हुने तिथि तोकिएको छ । तर, तोकिएको तिथिमा महाधिवेशन
हुन्छ/हुँदैन भन्ने कुरा सञ्चारमाध्यमको अडकलबाजीको विषय बनेको छ । यसका कारकका रूपमा समायोजनको कार्य नसकिनु, क्रियाशील सदस्यता बाँड्न सुरु नहुँदै विवाद हुनु र कोभिड–१९ को प्रकोप बढ्नुलाई औंल्याइँदै छ । समायोजन ७७ मध्ये ६६ जिल्लाको सकिएको छ र बाँकी जिल्लाको पनि केही हप्ताभित्र सकिएला । समायोजन सकिएका जिल्लामा क्रियाशील सदस्यता बाँड्ने काम सुरु भइसकेको छ ।

क्रियाशील सदस्यता वितरणको विधि
विधानमा नेपाली कांग्रेसमा दुई थरी सदस्य रहने व्यवस्था छ । एउटालाई
नेपाली कांग्रेसको सदस्य (बोलीचालीको भाषामा साधारण सदस्य) र अर्कोलाई
क्रियाशील सदस्य भनिन्छ । साधारण सदस्य लिनलाई पनि केही सर्त तोकिएका
छन्, जुन त्यति अप्ठेरा छैनन् । तर, क्रियाशील सदस्य हुनका लागि थप सर्तको पालना मात्र हैन, साधारण सदस्य लिएको एक वर्ष पूरा नभई क्रियाशील सदस्यता माग गर्नसम्म नपाइने व्यवस्था विधानमा छ ।
तर व्यवहारमा दुई थरी सदस्यको अब कुनै अर्थ हामी देख्दैनौं । प्रत्येक
महाधिवेशनअगाडि क्रियाशील सदस्य हुन साधारण सदस्य भएको एक वर्ष व्यतीत हुनुपर्ने विधानको व्यवस्थालाई निलम्बन गरिआएको नेकाको विगत छ । यसपटक पनि साधारण सदस्य नभएका व्यक्तिलाई सोझै क्रियाशील सदस्यता प्रदान गर्ने तय भएको छ ।
त्यसैले आउने दिनमा नेकाको विधानमा दुई किसिमका सदस्यता
राखिरहनुको औचित्य देखिन्न । आउँदा महाधिवेशनमा विधानका सम्बन्धमा छलफल हुन्छ भने यसमा ध्यान जान जरुरी देखिन्छ । जहाँसम्म क्रियाशील सदस्य वितरण गर्ने कुरो छ, यो पनि निकै झन्झटिलो छ । वडाबाट सुरु भएर विभिन्न तह हुँदै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिद्वारा क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय हुने व्यवस्था छ । त्यसपछि पनि केन्द्रीय सभापतिसहितको दस्तखतबाट क्रियाशील सदस्यको निस्सा दिइन्छ । यी सबै कार्यका लागि समयतालिका तोकिएको छ । सोबमोजिम गर्न कम्तीमा सुरु भएको मितिले दुई महिनाको समय लिन्छ । विवाद हुँदा सो समयसीमा सधैं घर्किने गरेको नेकाको अतीत छ ।
क्रियाशील सदस्यका सम्बन्धमा प्रायशः विवाद हुने नै गरेको छ, चाहे त्यो नयाँ क्रियाशीलको होस् वा नवीकरण सम्बन्धमा । क्रियाशील सदस्यता छानबिन गर्ने समितिहरू जिल्ला, प्रदेश र केन्द्रीय तहमा छन् । क्रियाशील सदस्यता पाउनुपर्नेले नपाएमा वा नपाउनुपर्नेले पाएमा उजुरी गर्न सकिन्छ ।
तर, त्यो टुंग्याउन सधैं महाभारत नै हुने गर्छ, पार्टीमा ।

क्रियाशील सदस्यको महत्त्व
नेकामा क्रियाशील सदस्यको महत्त्व किन छ भने, कांग्रेसको तहगत संरचना
निर्माणको मुख्य आधार नै यही हो । क्रियाशील सदस्य नरहेको
व्यक्ति टोल कार्यसमितिबाहेक अन्य कुनै तहमा सदस्य हुन सक्तैन । अर्को शब्दमा भन्ने हो भने, गाउँपालिकाको वडा अधिवेशनको गठन नै क्रियाशील सदस्यबाट मात्र हुने गर्छ । गाउँ/नगर वडादेखि जिल्ला, प्रदेश
वा केन्द्रसम्म क्रियाशील सदस्य नरहेको व्यक्तिको अस्तित्व कांग्रेसको संगठनमा विधानले स्वीकार गर्दैन ।
त्यति मात्र हैन, क्रियाशील भएको अवधि पनि उत्तिकै महत्त्वपूर्ण छ । सबै तहका कार्यकारी पदमा तह र पद हेरी समयसीमा तोकिएको छ । एक वर्षदेखि पन्ध्र वर्षसम्मको अवधि व्यतीत गरेको क्रियाशील सदस्यले मात्र सम्बन्धित पदमा उम्मेदवार हुन पाउँछ । उदाहरणका लागि, क्रियाशील सदस्य भएको कुनै व्यक्ति एक वर्ष पूरा नगरी नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न सक्तैन । केन्द्रीय सभापति हुन १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ ।

यतिखेरको नेकाको चिन्ता
नेकाभित्र यति बेला ठूलो चिन्ता छ, आम नेपाली नागरिकलाई कांग्रेससँग जोड्ने कसरी हो ? अझ युवा पंक्तिलाई नेकाले ठूलो मात्रामा किन आकर्षण गर्न सकेन ? नेकाका लोकतन्त्र, राष्ट्रियता र समाजवाद मुलुकको युवा पंक्तिका लागि अनाकर्षक भएकै हुन् ? के लोकतन्त्र, राष्ट्रियता वा समाजवाद भन्ने शब्दहरू देख्न, सुन्न, समाउन, छुन नसकिने भए ? नेकाका यी मूलभूत सैद्धान्तिक चरित्र र व्यवहारबीच के मेल खाएन ?
यी सबै विषयमा आत्मचिन्तनको आवश्यकता छ । यो आलेखमा सबै विषयमा छलफल वा बहस सम्भव हुन्न । चौधौं महाधिवेशनको मुखमा
नेकाको विधान पछ्याउनुको विकल्प पनि नहोला । तर, पन्ध्रौं महाधिवेशनमा जानुअघि कम्तीमा नेकाको आन्तरिक संगठनको भूमिकामा महत्त्वपूर्ण
योगदान गरिआएको क्रियाशील सदस्यताको विषयमा केही परिमार्जन
गर्न सकिन्छ कि ? यही उद्देश्यबाट प्रेरित भएर केही सुझाव तल प्रस्तुत गर्ने जमर्को गरिएको हो ।

क्रियाशील सदस्य दिने कि लिने ?
पहिले स्पष्ट होऔं— नेकाको क्रियाशील सदस्य दिने कि लिने हो ? विधानबमोजिम योग्यता पुगेका नेपाली नागरिकले चाहेमा नेकाको क्रियाशील सदस्यता लिने व्यवस्था गर्न अब ढिलो गरिनु हुन्न । नेकाका स्थानीय तहमा आवेदन गर्ने कुनै पनि नेपाली नागरिकलाई सहज रूपमा क्रियाशील सदस्य हुने हक हुनेछ भनी सुनिश्चित गरिनुपर्छ । साधारण सदस्य र क्रियाशील सदस्य भनी दुई वर्गमा छुट्याइराख्नुपर्ने औचित्य सकिएको छ । एक थरी मात्र क्रियाशील सदस्य बनाउँदा पुग्छ । क्रियाशील सदस्य नेकाभित्र जनजिब्रोमा भिजेको छ । फरक पर्दैन भने दुई प्रकारका
सदस्यता खारेज गरेर प्राथमिक सदस्य नामकरण गर्न कसो होला ? क्रियाशील सदस्य प्रदान गर्ने पद्धति हुँदासम्म नेका जमेको तलाउ हुने भयो । जो जुन तहमा निर्वाचित छ, उसको दयामा क्रियाशील सदस्यता प्रदान हुने भयो । यसले अन्ततः मठाधीश पद्धतिको निर्माण गर्छ । अर्को
कुरो, यसैपल्टको एउटा निर्णयमाथि विचार गरौं । हाल कायम रहेका क्रियाशील सदस्यको पचास प्रतिशत थप हुने गरी क्रियाशील सदस्य दिने भनी नेका केन्द्रीय कार्यालयबाट फारम वितरण भएको छ । त्यस्ता फारम आफ्ना पक्षलाई मात्र वितरण गरेको, निर्वाचनमा प्रभाव पार्ने कोसिस भएको भनी आरोप–प्रत्यारोप हुँदै छ । जसको जहाँ जति पहुँच छ, दिनेले केही न केही त गर्ने नै भयो । त्यसैले क्रियाशील सदस्यता ‘दिने’ को सट्टा ‘लिने’ बनाउन आवश्यक छ । अनि अर्को पनि कुरा, छुट्याइएको पचास प्रतिशतभन्दा बढी संख्यामा इच्छुक व्यक्ति सदस्यता माग्न आए नदिने ? त्यसै कारण नेका नेतृत्वले यो संख्या बढाउनुपर्छ भन्ने बहस पनि पार्टीभित्र चलेको सुनिन्छ ।
क्रियाशील सदस्य भनेको नेकाको जग हो । यसको जति वृद्धि हुन्छ त्यति नै नेका बलियो बन्ने होइन र ? यो काम स्थानीय तहमा साधारण ढंगले इच्छुक नागरिकले पाउने व्यवस्था मिलाउँदा के हानि हुन्छ ? जसले पनि लिन पाउने भन्नेबित्तिकै नेकाको लोकतान्त्रिक रूपान्तरणमा थप सहजता सुरु हुन्छ, स्थानीय तहमा विश्वास गर्ने प्रवृत्ति बढ्छ । जुन स्थानीय तहले क्रियाशील सदस्यको ढोका थुन्छ, त्यही नै आम निर्वाचनमा दण्डित हुन पुग्छ ।
नेकाको क्रियाशील सदस्यताको हकमा पनि ‘दिने’ कि ‘लिने’ भन्ने प्रश्नको अर्थ छ । लिन चाहनेलाई सदस्यता नदिने कारण खोज्ने दिन आयो ।
प्रतिबन्धित अवस्थामा रहेका पार्टी विधानलाई खुलापन आएको आजको समयमा परिवर्तन गर्नुपर्दैन ?
हो, यसो गर्दा नेकाको मूल आदर्शप्रति प्रतिबद्ध रहने र नेकाको विधानको पालना गर्छु भन्ने स्वघोषणा वा प्रतिबद्धता आवेदन फारममै गर्दा पर्याप्त हुन्छ । नेकालाई सञ्चालन गर्न क्रियाशील सदस्यले बुझाइआएको शुल्कको ठूलो आड छ । त्यसलाई निरन्तरता दिन सकिन्छ । नेकाको क्रियाशील सदस्य को हुन सक्तैन भन्ने सानो सूची उल्लेख गरे पुग्छ । उदाहरणका लागि, बहालमा रहेका नेपाली सेना, प्रहरी, निजामती तथा सरकारी स्वामित्वका सार्वजनिक संघसंस्थाका कर्मचारी वा शिक्षकहरू, जसलाई सम्बन्धित कानुनले रोक लगाएका छन्, तिनले पदमा बहाल रहुन्जेल नेकाको
सदस्यता लिन हुन्न । त्यसै गरी अन्य राजनीतिक दलका सदस्य वा अनुशासन कारबाहीमा परेका व्यक्तिले पनि नेकाको सदस्यता लिनु भएन ।
हैन भने, आम नेपाली नागरिकले सजिलै, त्यो पनि स्थानीय तहमा गएर नेकाको क्रियाशील सदस्यता प्राप्त गर्ने वातावरण बनाउन जरुरी छ ।
नेपाली नागरिकले नेकाको सदस्यता लिने, लिन पाउने व्यवस्थाको
ग्यारेन्टी नागरिक–कांग्रेस जोड्ने क्रमको पहिलो विन्दु हुनुपर्छ ।
दोस्रो, नेकाको सदस्यता लिएपछि विभिन्न पदमा उम्मेदवारी दिन समयसीमाको बन्देज अब समाप्त हुनुपर्छ । कुनै पनि नेपाली नागरिकले नेकाप्रति प्रतिबद्धता व्यक्त गर्छ र त्यो व्यक्ति विधानबमोजिम योग्यता
पुगेको पदमा उम्मेदवार हुन चाहन्छ भने, त्यसमा समयसीमा सर्तका रूपमा राखिनु हुन्न । एक वर्षदेखि पन्ध्र वर्षसम्म, विभिन्न पदमा उम्मेदवार हुन राखिएको समयसीमा, सोसम्बन्धी व्यवस्था नागरिक–कांग्रेस जोडिन बाधक हुँदै आएको छ । यो संरचना भत्काउन जरुरी छ ।
नेकाका विभिन्न तहमा उम्मेदवार हुन क्रियाशील सदस्यको समयसीमा नराख्ने हो भने यसप्रति समाजका विभिन्न तप्काका नागरिकहरूको आकर्षण पैदा हुन्छ । व्यावसायिक रूपले सफल रहेका, समाजले आदर गरेका व्यक्तिहरूलाई नेकाले आकर्षित गर्छ । नेपाल राष्ट्रका लागि काम गरेका, सफलता प्राप्त गरेका व्यक्तिले नेकाको मूल विचारलाई सफल पार्ने गरी आफ्नो विचार, रणनीति ल्याउँछन् र तिनलाई आम कांग्रेसजनले स्वीकार गर्छन् भने नेका केन्द्रीय सभापति बनाउन किन नहुने ? त्यस्ता व्यक्तिले १५ वर्ष क्रियाशील सदस्य भई किन कुरेर बस्नुपर्ने ? यस्तो व्यवस्था हुँदो त लोकतान्त्रिक विचार बोक्ने धेरै राजनीतिक दलहरूले आफ्नो छुट्टै व्यवस्था गर्नुपर्ने थिएन । उमेरको विवाद हैन विचारको प्रधानताले ठाउँ पाउने थियो ।
एउटा अर्को कोणबाट पनि विचार गरौं । दिनदिनै समाचार सुनिन्छ, एउटा पार्टी छोडेर अर्को पार्टी प्रवेश गरेको । हरेक पार्टी अर्को पार्टीबाट प्रवेश गराउँदा रमाइलो मान्छ, फूलमाला र अबिर लगाएर स्वागत गर्छ । तिनलाई पार्टीको विधानले नयाँ क्रियाशील सदस्यता दिन पनि रोक्दैन । एकैपटक पदाधिकारी बनाए पनि हुन्छ भने आम नागरिकलाई क्रियाशील लिनेदेखि उम्मेदवारी दिनेसम्ममा जताततै छेकबार लगाउने किन ?
समयसापेक्ष सुधार नगर्ने कुनै पनि संस्था प्रभावशाली भइरहन सक्तैन ।
नेकामा नयाँ पिँढीलाई जोड्ने हो भने आफ्नो मूल प्रतिबद्धतामा जोडिन
चाहने ती सबैलाई समाहित गर्ने गरी निर्णय लिने साहस गर्नैपर्छ ।
अन्तमा, नेकाले एउटा काम गरोस् । सामाजिक सञ्जाल आजको महत्त्वपूर्ण प्लेटफर्म हो । सामाजिक सञ्जालसँग जोडिएका लाखौं नेपाली नागरिक (अधिकांश युवा) सँग यस विषयमा प्रश्नावली बनाएर सोधोस् र अनुसन्धान गरोस्, यी सुधार अपेक्षित छन् वा छैनन् ?

Page 7
दृष्टिकोण

काठमाडौं उपत्यकालाई अलग्गै प्रदेश किन नबनाउने ?

- खिमलाल देवकोटा

 

नेपालको संविधानअनुसार पहिलोपटक २०७४ फागुन ३ मा संघीय सरकार गठन भयो । यसै अवधिमा पहिलोपटक प्रदेश सरकारहरू पनि गठन भए । संघीय र प्रदेश सरकारहरू गठन हुनुभन्दा अगाडि नै स्थानीय सरकारहरू क्रियाशील भइसकेका थिए । २०७२ असोज ३ मा संविधान जारी भए पनि तीनै तहका निर्वाचनपश्चात् मात्र संविधानको कार्यान्वयन भएको हो । यस अवधिमा केही अनुभव प्राप्त भएका छन् ।
यद्यपि संविधान र संघीय व्यवस्थाको सफलताको मापनका लागि अझै केही वर्ष कुर्नुपर्छ । समयक्रमसँगै सुधार गर्नुपर्ने विषयहरू उठिरहेका छन् र यो क्रम जारी नै रहनेछ । यो आलेख संविधान कार्यान्वयन लगायतका सम्बन्धमा काठमाडौं उपत्यकाका दीर्घकालीन समस्या समाधानका लागि बृहत्तर राजधानी
सहरको औचित्यका सम्बन्धमा केन्द्रित छ ।
प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक लगायतका दृष्टिले परापूर्वकालदेखि नै अति सुन्दर काठमाडौं उपत्यका अहिले अव्यवस्थित, अतिक्रमित र समस्याग्रस्त छ । सरकारहरूका बीचमा अधिकार तथा जिम्मेवारी बाँडफाँट भए पनि संविधानको
सोचसँग मेल नखाने क्रियाकलापमा कुनै कमी आएको छैन । सिंगो काठमाडौं उपत्यकालाई आकर्षक, समृद्ध र वातावरणमैत्री अत्याधुनिक सुविधायुक्त
राजधानी सहरका रूपमा विकास गर्ने नेपाल
सरकारको सोच भए पनि यस सम्बन्धमा खासै
केही प्रगति भएको छैन ।
उपत्यकाको एकीकृत विकास लगायतमा तीन तहकै सरकारका बीचमा समन्वय र सहकार्यको समस्या छ । खानेपानी, सडक, ढल, सरसफाइ, विद्युत्, पार्किङ आदि आधारभूत सहरी सुविधाहरू नगरपालिका (स्थानीय सरकार) का अनिवार्य दायित्व हुन् । संविधानले स्थानीय सेवा प्रवाह र विकास–निर्माणसँग सम्बन्धित विषयहरू स्थानीय सरकारको अधिकार क्षेत्रमा राखे पनि उपत्यकाका पालिकाहरूले यसको पूर्ण रूपमा प्रयोग गर्न पाएका छैनन् । हुन त समस्या अन्यत्र पनि छ । राजधानीसमेत भएका कारण विगतदेखि नै आफूले प्रयोग गर्दै आइरहेका अधिकार तथा जिम्मेवारीहरू सजिलै पालिकाहरूलाई हस्तान्तरण गर्ने पक्षमा संघीय सरकार देखिँदैन । यसै गरी आफ्नो अधिकार क्षेत्रमा परेका तर हस्तान्तरण नभएका विषयक्षेत्रहरूमा पालिकाहरूले पनि खुलेर काम गर्न चाहँदैनन् । प्रदेशले पनि राजधानीमा काम गर्न सकिरहेको छैन । सरकारहरूका बीचमा पर्याप्त समन्वय नहुँदा सामान्य आधारभूत सुविधाहरूबाट पनि नागरिकहरू वञ्चित छन् ।
काठमाडौं (उपत्यकासमेत) सहरमा खानेपानी, फोहोरमैला, बाटोघाटो, धूलोधूवाँ, खाल्टाखुल्टी आदिको समस्या भएमा सीधै मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीमाथि आक्षेप लाग्छ, लगाइन्छÙ महानगर/नगरका प्रमुखहरूलाई केही भनिँदैन । यस सम्बन्धमा प्रधानमन्त्रीले पटक–पटक संसद्मा बोलेको र विभागीय मन्त्रीहरूलाई निर्देशन दिएको सुनिएकै हो । वास्तवमा राजधानी सहर केन्द्रीय
सरकार मात्र हैन, समग्र मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय पनि हो । हामीकहाँ अधिकांश संरचना राजधानी सहरमा छन् । अन्तर्राष्ट्रिय स्तरको कुनै ठूलो कार्यक्रम गर्नुपर्ने भएमा राजधानी सहरलाई केही क्षणका लागि कृत्रिम रूपमा सजाइन्छ । यस्तो अवस्थामा राजधानी सहर (काठमाडौं) सहितको उपत्यकाका तीनै जिल्लाका सबै पालिका सम्मिलित अलग्गै प्रशासनिक र
राजनीतिक संरचनाका रूपमा विकास गर्न जरुरी छ ।
यस्तो संरचना राजधानी प्रदेश/एकाइ हुन सक्छ, जसले विकास र समृद्धि लगायतमा सबै किसिमका सरकार
र निकायहरूका बीचमा समन्वय र सहकार्य गरी
राजधानीवासीको प्रतिष्ठा र गौरवलाई कायम राखोस् ।
राजधानीमा अस्तित्वविहीन प्रदेश
हुन त अहिले कुनै पनि प्रदेश सरकारको मूल्यांकन गर्ने बेला भइसकेको छैन । यसका लागि अझै केही
वर्ष कुर्नैपर्छ । तर वाग्मती प्रदेशको अवस्था अलि फरक छ । केन्द्रीय राजधानीको राप र तापका कारण प्रदेशको अस्तित्व देखिँदैन । यसै गरी स्रोत
र साधनले सम्पन्न काठमाडौं महानगरको मात्र नभई उपत्यकाका अन्य पालिकाको आकर्षण पनि
प्रदेशप्रति भएको पाइँदैन । तीन वर्षको पूर्ण बजेट ल्याउँदा पनि प्रदेशले उपत्यकामा सामान्य प्रभावसम्म पार्न सकेको छैन भने, संघीय सरकारले पनि प्रदेशलाई उपत्यकामा छिर्न दिएको छैन । जस्तो— संविधानले प्रदेशलाई प्रदेश प्रहरी प्रशासन र शान्तिसुरक्षाको अधिकार दिएको छ । तर संघीय सरकारले काठमाडौं उपत्यका (तीनै जिल्ला) को शान्तिसुरक्षाको जिम्मेवारी
आफूले नै राख्ने तयारी गरेको छ । कोभिड–१९ का
सम्बन्धमा पनि संघीय सरकारले उपत्यकामा यसको समन्वय र व्यवस्थापन लगायतमा प्रदेशलाई
काम गर्न दिएको छैन । काठमाडौं उपत्यका एकीकृत क्वारेन्टिन व्यवस्थापन समितिमा
प्रदेशलाई प्रतिनिधित्व नगराउनुलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । यति मात्र हैन,
यातायातसम्बन्धी प्रायः जिम्मेवारी संविधानले प्रदेशलाई दिएको छ । तर संघीय सरकारले काठमाडौं उपत्यका यातायात प्राधिकरण गठन
गरी उपत्यकाभित्रको यातायात व्यवस्थापनको काम आफैं गर्ने तयारी गरिरहेको छ ।
सामान्यतः सडक, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता आधारभूत सुविधाहरू सहज रूपमा उपलब्ध हुने स्थानलाई सहर भन्ने गरिन्छ । सहरहरू आर्थिक वृद्धि, गरिबी न्यूनीकरण र मानव विकासका वाहक र अर्थतन्त्रका चालक हुन् । सहरी विकासको गतिमा त्यसका वरिपरिका
बस्तीहरू लगायतको विकास मात्रै नभई मुलुकको समग्र विकास निर्भर हुन्छ । सहरहरू जति
दौडन्छन्, मुलुकको विकासले पनि त्यही गतिमा काँचुली फेर्छ । अमेरिकाको न्युयोर्क, इजिप्टको
कायरो, जापानको टोकियो, स्पेनको म्याड्रिड,
अर्जेन्टिनाको ब्युनस आयर्स, फ्रान्सको पेरिस, भारतको
मुम्बई, लेबनानको बेरुत आदि अति नै व्यस्त
सहरका रूपमा चिनिन्छन् । न्युयोर्क सिटीलाई त कहिल्यै नसुत्ने सहरका रूपमा पनि लिइन्छ ।
संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिलाले सन् २०१८ मा प्रकाशित गरेको विश्व सहरीकरण प्रतिवेदनअनुसार, हाल विश्वको कुल जनसंख्याको करिब ६० प्रतिशत सहरमा बस्छ । सन् १९५० मा करिब ३० प्रतिशत मानिस सहरमा
बस्थे । सन् २०५० मा यो संख्या करिब ७० प्रतिशत पुग्ने अनुमान छ । नगरपालिकालाई सहर मान्ने हो भने नेपालमा करिब ६३ प्रतिशत मानिस सहरमा बस्छन् । त्यसलाई आधार मान्दा काठमाडौं र भक्तपुर जिल्लाका सबै नागरिकलाई सहरी नागरिक मान्न सकिन्छ । नगरपालिका र गाउँपालिकाको संख्या बराबरी भए पनि ललितपुरमा सहरी जनसंख्या ९२.९६ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार उपत्यकाका जिल्लाको जनसंख्या २५ लाख अर्थात्
नेपालको कुल जनसंख्याको ९.५० प्रतिशत छ । ७ वटा प्रदेशमा २५ लाख भन्दा कम जनसंख्या हुने प्रदेश कर्णाली प्रदेश (१५ लाख) र गण्डकी प्रदेश (२४ लाख) हुन् । काठमाडौं उपत्यकामा २५ लाख जनसंख्या भए पनि बसोबास गर्नेको संख्या दोब्बरभन्दा पनि बढी छ । उपत्यकाका पालिकाहरू सिमेन्टैसिमेन्टको
सहरमा परिणत हुँदै छन् । तीव्र जनघनत्व लगायतका कारण व्यवस्थित र गुणस्तरीय सहर बनाउन ठूलो लगानी चाहिन्छ । तर यसतर्फ कुनै पनि तहका
सरकारको पर्याप्त ध्यान पुगेको छैन ।
वाग्मती प्रदेशका १३ जिल्लामध्ये ७ वटा (सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, धादिङ, रसुवा, नुवाकोट र रामेछाप) को मानव विकास सूचकांक राष्ट्रिय औसतभन्दा पनि कम छ । तर नेपाल मानव विकास सूचकांक लगायतमा सात प्रदेशमध्ये वाग्मती प्रदेशको
स्थान अग्रणी छ । उपत्यकाका जिल्लाहरूलाई यस
प्रदेशबाट निकाल्ने हो भने प्रदेशको स्थान निकै तल पुग्छ । बाहिरबाट वाग्मतीलाई समृद्ध प्रदेशका रूपमा
हेरिन्छ, देखिन्छ । तर वास्तविकता फरक छ । प्रदेशभित्रै
विषमता छ । दुर्गम जिल्लाहरू सुगम प्रदेशको वर्गमा परेका कारण दुर्गमको लाभ लिनबाट वञ्चित छन् । यसै गरी सुगम जिल्ला/पालिकाहरूमा जनसंख्याको तीव्र वृद्धिका कारण सहरी व्यवस्थापन लगायतमा ठूलो समस्या छ ।
नम्बियो डट कमका अनुसार विश्वका सबैभन्दा प्रदूषित सहरहरूमध्ये काठमाडौं तेस्रो नम्बरमा पर्छ ।
सबैभन्दा बढी प्रदूषित सहर उत्तर म्यासेडोनियाको टेटोभो हो, जसको प्रदूषण सूचकांक ९७.४४ छ । दोस्रो प्रदूषित सहर अफगानिस्तानको काबुल हो, जसको प्रदूषण सूचक ९६.५३ र तेस्रो प्रदूषित सहर काठमाडौंको ९५.८८ छ । पेट्रोल र डिजेलबाट चल्ने सवारीहरूको अत्यधिक चाप छ यहाँ । सडक साँघुरा मात्र नभई अति अव्यस्थित छन् । इँटाभट्टा लगायत
सबै किसिमका उद्योगहरूबाट निस्कने प्रदूषित धूवाँका कारण वातावरण बिग्रिएको छ । वाग्मती, विष्णुमती, हनुमन्ते, मनहरा, धोबीखोला, नक्खु, टुकुचा लगायतका उपत्यकाका नदी र खोलाहरू सबै प्रदूषित छन् । नदी तथा खोलाकिनारका बस्तीहरूको
जोखिमको तह घट्लाभन्दा बढेको छ । धूवाँ र धूलोका
कारण घरबाहिर मात्र होइन, घरभित्र पनि सास फेर्न कठिन छ । काठमाडौं उपत्यका लगायतका सहरहरूबाट विसं २०८५ सम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन विस्थापित गर्ने वाग्मती प्रदेश
सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन ।
कोरोनाको सुरुताका धमाधम भ्याली छाड्नेहरू
दसैंको मुखमा समेत विभिन्न माध्यमबाट लुकीछिपी फेरि फर्कंदै छन्, फर्किरहेका छन् ।

अन्तर्राष्ट्रिय प्रचलन
भारतसहित केही देशका राजधानी सहरहरू (संघात्मक तथा एकात्मक दुवै) पूर्ण वा आंशिक अधिकारसहित स्वायत्त छन् । नयाँ दिल्ली, मेक्सिको सिटी, वासिङ्टन डीसी, ब्युनस आयर्स, क्वालालम्पुर, इस्लामावाद, मनिला, बेइजिङ, बैंकक, जकार्ता, टोकियो,
लन्डन आदि यस्ता सहर हुन् । अधिकांश देशका
राजधानी र ठूलठूला सहरहरूलाई एकीकृत विकास र समन्वयका लागि राजनीतिक, आर्थिक, प्रशासनिक लगायतका अधिकारहरू दिइएका छन् । स्विट्जरल्यान्डमा त प्रायः सहर नै क्यान्टोन (प्रदेश) को
हैसियतमा छन् । यी सहरभित्र पनि प्रशस्तै ससाना सहर/नगरपालिकाहरू छन् । जस्तो— बर्न क्यान्टोनका
३४७ नगरपालिका छन् भने ज्युरिखमा १६६ वटा ।
जकार्तामा जनताबाट प्रत्यक्ष निर्वाचित गभर्नर
छन् । यस सहरलाई पाँचवटा प्रशासनिक सहरका
रूपमा विभाजन गरिएको छ । यी प्रशासनिक
सहरको नेतृत्व मेयरले गर्छन् । मेयरको नियुक्ति गर्भनर र जकार्ता सहरका सांसदले गर्छन् ।
भारतको राजधानी नयाँ दिल्लीलाई केन्द्र सरकारको
निर्देशन र सल्लाहमा कामकाज गर्ने गरी राज्य
सरकारकै हैसियत दिइएको छ । दिल्लीसहित भारतमा
केन्द्रशासित ८ वटा युनियन टेरिटोरी छन् । अन्य
प्रदेशजस्तै यहाँ जनताबाट प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री छन् । १,४८४ वर्ग किमि क्षेत्रफल र
११ वटा जिल्लामा फैलिएको दिल्लीको जनसंख्या
३ करोड छ । वासिङ्टन डीसी पनि ५० राज्यमध्ये
कसैको मातहतमा पर्दैन । सीधै केन्द्रीय सरकारप्रति
जवाफदेही हुने गरी स्वायत्त राजधानीको दर्जा दिइएको छ ।
काठमाडौं महानगरको अलग्गै विशिष्ट पहिचान भएकाले अलग्गै ऐनको आवश्यकता महसुस गरी स्थानीय विकास मन्त्रालयले २०६० मा काठमाडौं महानगरपालिका ऐन, २०६० को मस्यौदा तयार गरेको थियो । यो मस्यौदा ऐन तत्कालीन स्थानीय निकाय पुनःसंरचना आयोगको २०६० माघ ५ गतेको
प्रथम बैठकमा पेस भएको थियो । त्यस बेला काठमाडौं उपत्यकामा पाँच सहर (काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र ठिमी) को ऐतिहासिक पहिचानलाई जीवन्त राख्दै २०५९ मा सिफारिस भएका शंखरापुर (साँखु), कार्यविनायक (सैंबु), चम्पापुर (चापागाउँ) लाई नगरपालिका निर्धारण गरी समग्र उपत्यकाको योजनाबद्ध विकास गर्न सक्ने संस्थागत संयन्त्रको सोच हुनु जरुरी छ भन्ने निर्णय सो समितिले गरेको थियो । तथापि सांस्कृतिक, धार्मिक र पुरातात्त्विक महत्त्व लगायतका दृष्टिले काठमाडौं, ललितपुर र भक्तपुर सहरलाई अलग्याउन हुँदैन भन्ने अभिप्रायका कारण यो ऐन अगाडि बढेन ।
विभिन्न विद्वान् लेखक तथा अध्ययन प्रतिवेदनहरू (हर्क गुरुङ, पहिलो संविधानसभा, राज्य पुनःसंरचना सुझाव आयोग, नेपाल नगरपालिका संघ, वामदेव गौतम, बाबुराम भट्टराई, शंकर पोखरेल, पीताम्बर शर्मा, नरहरि आचार्य, आलोक बोहरा आदि) को उपत्यकाका तीनै जिल्लालाई एउटै एकाइ लगायतका रूपमा विकास गर्नुपर्ने सुझाव छ । वामदेव गौतमले आफ्नो पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’ मा उपत्यकाका तीन जिल्ला एवं मकवानपुर, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकका केही भाग समेटेर आधुनिक राजधानी सहर बनाउनुपर्ने उल्लेख गरेका छन् । एक दैनिक पत्रिकामा बाबुराम भट्टराईले पनि गौतमसँग मिल्दोजुल्दो विचार राखेका छन् ।
अहिले संघीय तहमा झन्डै दुईतिहाइ बहुमतको सरकार हुँदा पनि अन्योल र अनिश्चितता छ । प्रदेशमा
पनि अवस्था त्यस्तै छ । स्पष्ट बहुमत हुँदा पनि पार्टीभित्रको किचलोका कारण अविश्वासको प्रस्तावको त्रास प्रधानमन्त्री लगायतमा छ । कुनै एक दलको बहुमत हुँदा त अवस्था यस्तो छ भने मिलीजुली सरकारको हालत कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । फेरि विगतको तितो अनुभव पनि हामीसँग ताजै छ । वास्तवमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धति नै उपयुक्त हुने रहेछ कि भन्ने आभास अहिले सर्वत्र हुन थालेको छ ।
जनताबाट प्रत्यक्ष निर्वाचित शासन प्रणालीको अनुभव र आत्मसात्का लागि पनि उपत्यकाका तीन जिल्लालाई समाहित गरी अलग्गै (दिल्लीको
केन्द्रशासित मोडलका रूपमा वा त्यस्तै अन्य) एकाइ वा प्रदेश बनाऔं । जनताबाट प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री वा गभर्नरको चयन गरौं । साँच्चिकै एकीकृत र समन्वयात्मक तरिकाले काम गर्ने
हो भने पालिकाका प्रमुख र उपप्रमुख सम्मिलित व्यवस्थापिका बनाऔं । जनसंख्याका आधारमा मतदान गर्ने अधिकार सुनिश्चित गरौं । विकल्प जति पनि हुन सक्छन् । यथास्थितिअनुसार नै उपत्यकाका जिल्लाबाट प्रदेशमा निर्वाचित सांसद (समानुपातिक प्रतिनिधित्वसहित) को पनि व्यवस्थापिका हुन
सक्छ । कार्यपालिकाका लागि ५ जनाभन्दा बढी मन्त्री हुन नहुने, मुख्यमन्त्रीको हैसियत संघीय उपप्रधानमन्त्रीसरहको हुने (यो व्यवस्था सबै प्रदेशको
हकमा समेत जरुरी छ), केन्द्रीय सरकारले विकास–निर्माण सम्बन्धी सम्पूर्ण प्रशासनिक संरचना, जनशक्ति र स्रोत हस्तान्तरण गर्ने, गर्नैपर्ने कामहरू समन्वय र सहकार्य गरेर मात्र गर्ने, सुरक्षाको सम्पूर्ण जिम्मेवारी केन्द्रले हेर्ने लगायतको व्यवस्थासहितको
राजधानी प्रदेश वा अन्य त्यस्तै एकाइ आवश्यक छ । यस सम्बन्धमा संघीय सरकार र वाग्मती प्रदेश सरकारका
बीचमा पनि छलफल जरुरी छ । तत्कालीन रूपमा केन्द्रसहितको उपस्थिति र सहकार्यमा उपत्यकाका स्थानीय तहहरूसँग समन्वात्मक ढंगले अगाडि बढ्ने सोच निर्माणका लागि प्रदेश सरकारले तत्परता
देखाउनसमेत आवश्यक छ ।
यसै त प्रदेश खर्चिलो भयो भन्ने आरोप लागेको
अवस्थामा अलग्गै प्रदेश/एकाइको अवधारणा
आलोचित हुन सक्छ, हुन्छ । यस्तो अवस्थामा
राजधानी प्रदेश/एकाइ नेपाल सरकारको अनुदानबिना प्रशासनिक खर्च सञ्चालन गर्ने/हुने प्रणालीको विकास गर्न जरुरी छ । उपत्यकाका पालिकाहरूको लागत सहभागिताबाट (आन्तरिक स्रोतबाट मात्रै) सहज रूपमै प्रशासनिक खर्च धान्न सकिन्छ । फेरि
पालिकाका प्रमुख–उपप्रमुखको संसद् बनाएमा व्यवस्थापिका–संसद्का लागि खासै खर्च पनि लाग्दैन ।
आन्तरिक स्रोतमा उपत्यकाका पालिकाहरू सक्षम छन् । जस्तो— काठमाडौं महानगरपालिकाको गत आव २०७६/७७ को यथार्थ आन्तरिक आय ४ अर्ब ४४ करोड रुपैयाँ (राजस्व बाँडफाँटसहित ६ अर्ब ३७ करोड) छ । वाग्मती प्रदेश र प्रदेश ५ बाहेक बाँकी सबै प्रदेशको यथार्थ आन्तरिक आय ४ करोड १५ लाखभन्दा कम छ । कर्णाली र सुदूरपश्चिम
प्रदेशको आन्तरिक आय १ अर्बभन्दा पनि कम छ ।
काठमाडौं उपत्यकाका जिल्लाका स्थानीय तहको यथार्थ आन्तरिक आय कम्तीमा पनि १३ अर्ब (राजस्व
बाँडफाँटसहित २० अर्ब रुपैयाँभन्दा बढी) छ ।
उपत्यकाका पालिकाहरूले नै राजधानी प्रदेश/
एकाइका लागि आवश्यक प्रशासनिक खर्च बेहोर्न
सक्छन् । संस्थागत संरचना र कर्मचारीहरूका लागि लाग्ने दोहोरो खर्चको अवस्था समाप्त हुन्छ ।
अहिले कतिपय निकाय र क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उस्तै–उस्तै र उही काम गरेका छन् । स्रोत र साधनको व्यापक दुरुपयोग भएको छ । एकीकृत ढाँचा र साझा
उद्देश्यप्राप्तिका लागि काम गर्ने हो भने उपत्यकामा स्रोतको समस्या छैन ।
मल्लकालका राजा यक्ष मल्लको मृत्युपछि
सन् १४८२ मा उनका छोराहरूले एकीकृत
काठमाडौं भ्याली राज्यलाई काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन राज्यमा बाँडेका थिए । त्यसअघि उत्पत्तिकालदेखि नै काठमाडौं उपत्यका एकीकृत
राज्य थियो । काठमाडौं उपत्यकाको भूगोल स्वयम्ले एकीकृत संरचनाको माग गर्छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेपाल नगरपालिका संघको अध्यक्ष हुँदा यस विषयको उठानसमेत
भएको थियो । उहाँ अहिले पनि आफ्नो साबिकको अडानमा दृढ हुनुहुन्छ ।
यी तमाम विषयवस्तुको विश्लेषणका आधारमा
काठमाडौं उपत्यकाको एकीकृत राज्यसंरचना लगायतमा बहसको जरुरत छ । शून्य प्रशासनिक खर्चमा एकीकृत विकासको ढाँचासहित राजधानी
प्रदेश/एकाइको निर्माणका लागि पहल गरौं । मुलुकको दीर्घकालीन विकासको लक्ष्य समयमै हासिल हुने गरी राजधानी सहरसहित अन्य सहरहरूलाई कुदाऔं । मुलुकको आम्दानी, रोजगारी र कुल गार्हस्थ्य उत्पादन लगायतमा अभिवृद्धि गरौं ।

दृष्टिकोण

बिलखबन्दमा संविधान

- चन्द्रकिशोर

टाकुराबाट कुरुक्षेत्रको युद्ध हेरिसकेपछि टाउको काटिएको बर्बरीकले
भनेको थियो, ‘सम्पूर्ण महाभारतमा मैले एउटै व्यक्तिलाई पटकपटक मर्दै र मार्दै गरेको देखें । तिनी थिए— कृष्ण ।’ यस कथनको महत्त्वपूर्ण सन्देश हो— महाभारतमा हरेकपटक कृष्ण नै मरे, असलपन नै मेटिइरह्यो । धर्मक्षेत्र मूल्यहरूको श्मशान बन्यो । यता पनि संविधान निर्माण गर्दा केवल परिणामप्रति ध्यान दिइयो, पात्र र प्रक्रियाको मूल्यलाई बेवास्ता गरियो ।
समयको गुणस्तर सधैं एकै किसिमको हुँदैन । संविधान निर्माणको समय ठूला सम्भावना बोकेर आएको थियो । त्यसभन्दा पनि बढी सम्भावना बहुतहको निर्वाचनपश्चात् संविधान कार्यान्वयनको काल हो । निर्वाचित शासकहरूमा संविधान–
चेतना जति बढी हुन्छ, त्यति लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र जब खण्डखण्ड पाखण्ड पर्वमा अनूदित हुँदै जान्छ, जितपश्चात् विनाश यसै गरी सार्वभौम हुन पुग्छ । सत्यतथ्य प्रचारित हुँदैन । जे प्रचारित हुन्छ र गरिन्छ, त्यही सत्य भइटोपल्छ ।
हतारोपन कतिपय अवस्थामा चाहिन्छ । तर जतिसुकै हतारो भए पनि प्रक्रियासँग गाँसिएको मूल्य कुल्चिन पाइँदैन, विश्वव्यापी केही मानदण्डहरूलाई पदाघात गर्ने छुट हुँदैन । एउटा अंग्रेजी भनाइ छ, ‘सर्टकट विल कट यु सर्ट ।’ अर्थात्, छोटो मार्गले तिमीलाई नै छोटो बनाइदिन्छ । अर्को एउटा ग्रीक मिथ चरितार्थ हुँदै गरेको अवस्था छ ।
संविधानले नेपाली लोकतन्त्रका केही आधारभूत समस्या र संस्कृतिलाई सम्बोधन गर्न सकेन । यो त बूढा नेताहरूले आफूमाझ सत्ता र शक्तिको भागबन्डा गर्दाको दुःस्वप्न हो । संविधान निर्माण प्रक्रिया अतिकेन्द्रीकृत र अपारदर्शी भयो । सामान्यजनको मतलाई यससँग जोड्नै सकिएन । संविधानसभाले समयतालिकाको यस्तो चेपुवामा पार्‍यो, जसलाई द्रुत बाटो
भनियो । अहिले पुष्टि हुँदै छ, त्यो छोटो बाटोले कसरी संविधान–वयलाई छोटो तुल्याउँदै गएको छ ? त्यस्तै संविधानका निर्माताहरूले आफ्नो अपारदर्शी कृत्यलाई यति ‘उत्कृष्ट’ भनेर बखान गर्न थाले, जसको भविष्य नार्सिससको नियतिसँग
ठोक्किन बेर छैन । हो, निर्वाचनपश्चात् समयावधिमा संविधानलाई कुपोषित हुनबाट जोगाउन जुन खालको खुराक दिनुपर्थ्यो, त्यसलाई अहिलेका शासकले जानाजानी बेवास्ता गरे । यसले गर्दा राष्ट्रको मनोवैज्ञानिक, आर्थिक र राजनीतिक एकता बलियो पार्ने काम एकदम बेवारिसे भयो । यो सरकारलाई सफल मान्दै महिमामण्डन गर्नु भनेको वर्तमान राजनीतिले देश, समाज र नागरिकप्रति गरेको घातलाई बेवास्ता गर्नु हो । राजनीति, कूटनीति र शासकीय विफलताले खन्दै गएको खाडलले चालु संविधानलाई बिलखबन्दमा पारेको छ । उसो त मुलुकको प्रगतिका लागि
विधि र संस्थाको निर्माणभन्दा सत्तापतिका मिठा तर झूटा कुरामा रमाउने नेता, कार्यकर्ता, विश्लेषकहरू कम छैनन् । यिनीहरूद्वारै रचिएको भाष्यको मोहपाशमा अल्झिएका आम मान्छे पनि कम छैनन् ।
जनताको युगबाट पछि हट्न खोज्नु प्रतिगमन हो, चाहे त्यो समृद्धि यात्राको नाममा ल्याइएको होस् चाहे महामारी व्यवस्थापनको निहुँमा । जे जुन बहानामा जब शासकले आफूलाई जनताभन्दा माथि राख्न खोज्छ, जनतालाई आफ्नै कुरामा सही थाप्न बाध्य पार्छ र विवेकको स्वतन्त्रताको पर्वाह गर्दैन, त्यो प्रतिगमन हो । प्रतिगमन जुनसुकै आवरणमा वा नारामा आए पनि प्रतिगमन नै हुन्छ । जे जुन संविधान छ, त्यसले दर्साएको तथ्य हो— संविधानभन्दा कोही माथि छैन । संविधानको दृष्टिमा सबै समान छन् । एक थरी हर्षित थिए— बन्दुकको बलमा संविधान आयो, बहुतहका निर्वाचित सरकार भए र अन्तर्राष्ट्रिय समुदायले समर्थन पनि दियो । यो त सुनको दिन उदाएझैं
भयो । तर वास्तवमा यस अवधिको काल बाँझै रह्यो, अग्रगमनको ऊर्जा भने उत्पादन गर्न सकिएन । यिनै परिस्थितिमा अहिले मुलुक दुई समानान्तर मनोभावमा खडा हुन पुगेको छ— एक
थरीले संविधान दिवसलाई उत्सव दिवसका रूपमा मनाउँछन्
भने अर्का थरीले उत्सर्ग दिवसका रूपमा । यो विरोधाभासमाझको घर्षण वर्तमानको अभिशप्त नियति हो ।
गाउँ–देहातमा बूढापाकाहरू भन्थे— गल्ती दुई किसिमले हुन्छÙ एउटा पर्याप्त ध्यान नपुग्नाले, अर्को जानीबुझी आफ्नै हठमा
अड्नाले । माछा च्यापेर उडिरहेको बकुल्लाको समस्या के हुन्छ भने, मुख खोल्यो कि माछा झर्‍यो । तर जब कुनै नेता यति ढुक्क हुन्छ, जे बोले पनि त्यसलाई महावाणी मान्नेहरू प्रशस्त छन्, तब ऊ बेलगाम हुन्छ । उसले भुइँमान्छेहरूलाई झिनामसिना वस्तुसरह व्यवहार गर्न पुग्छ, जुन प्रतिगामी पाइला हो । यस्तै अवस्थाले बिस्तारै शासकलाई अरूभन्दा
देशभक्त र सत्यको प्रतिमूर्ति हुन पुगेको गुरुत्वबोध गराउँछ ।
यस परिस्थितिमा वर्तमान समयमा अनिश्चितता र भय यति
बाक्लो छ, निकट आगतमा के हुन्छ भन्न गाह्रो छ । उच्च लोकतान्त्रिक
मूल्यहरूमाथि बलात्कार गर्दै विद्वेषमूलक विभाजन र ध्रुवीकरण यसरी हुँदै आयो, फेरि लिकमा ल्याउनु कम चुनौतीपूर्ण छैन ।
नेपाली विविधतामाझ विश्वासको पुनर्प्रतिष्ठा अतीतको
भेदभाव र कूपमण्डुकताबाट बाहिर निस्केर नै हुन सक्छ । यसका लागि पहिलो पाइला सहिष्णुता र सामञ्जस्यलाई एउटा ठोस अवस्थामा पुर्‍याउन सक्नु हो, किनभने शान्तिपूर्ण सहअस्तित्व तब नै सम्भव हुन सक्छ । यसका लागि शासकको आत्मप्रलापको ठाउँमा संवाद चाहिन्छ । सुखी र समृद्ध नेपालीको अर्थ विभाजित अतीतबाट निस्किएर साझा भविष्यतर्फको सहयात्रा गर्नु
हो । एउटा ऋचाले भन्छ, ‘सं गच्छध्वं सं वदध्वं, सं वो मनांसि जानताम्’ । अर्थात् आऊ, सँगै हिँडौं, मिलेर कुरा गरौं र सँगसँगै सुमतिभावमा बसौं ।
एकअर्काप्रति लगातार अविश्वास अथवा संशय राखेर लोकतान्त्रिक
समाजको निर्माण हुन सक्दैन । एउटै राजनीतिक भूगोलभित्र कोही विजेता र कोही पराजित मनोविज्ञानमा बाँचिरहेको छ भने त्यो जतिसुकै अब्बल कहलिएको संविधानको असफलता हो । ‘अर्को पक्ष’ माथि विश्वासको डोरी मजबुत गर्नका लागि पहिलो सर्त हो— तथ्यहरूको प्रकाशमा न्यायबोध हुनु । सत्ताको शिखरबाटै पहल हुन सके मात्र मनोमालिन्य हट्न सक्छ । हाम्रो समाजको नग्न यथार्थ हो— ‘आफ्नो’ र ‘पराया’ देखाउने व्यवहारहरू छताछुल्ल छन्, तर हामी फगत एक घटना भनेर व्याख्या गर्न रुचाउँछौं । मूलतः वर्चस्वशाली सम्भ्रान्तहरूका मनको अँध्यारो कुनामा लघु फासीवाद लुकेको हुन्छ, जुन अनेकौं
प्रकारले अभिव्यक्त हुँदै छ । परायाकरण गर्दै बहिष्करण गर्ने
यो प्रवृत्ति यति झाँगिँदै आयो, आफ्नै दलभित्रकाले पनि
गिरोहबाहेकलाई शत्रु देख्न थाले । यस्तो कुरूप मार्गवृत्त छ सत्ता संसारको । तसर्थ संविधान दिवसमा भन्नैपर्छ— भीरको यति नजिकै खेलबाड गर्नु आत्मघाती यत्न हो ।
हो, नेपालमा भूगोल र इतिहासले सम्भव बनाइदिएको
समृद्धि हात लाग्न सकेको छैन । दक्षिण एसियामै समृद्ध बन्न सक्ने हाम्रो मुलुक गरिब छ । महामारीले अझै गरिब बनाइदिएको छ । संक्रमणकालीन न्याय प्रक्रियालाई चक्रव्यूहमा पारेर पीडकलाई पुरस्कृत गरी पीडितलाई झन् पीडा र अन्यायमा पारिएको छ ।
संकीर्ण राष्ट्रवादले असहिष्णुतालाई प्रश्रय दिन्छ तर बहुलवादी समाजमा यस्तो प्रवृत्तिको प्रतिकार स्वाभाविक र जायज
मानिन्छ । अमेरिकाका महाकवि वाल्ट ह्वीटम्यानले भनेका थिए, ‘लोकतन्त्र मात्र निर्वाचन हेतु हो, केवल दलका लागि
हो ।’ संविधानका अक्षरहरूलाई बहुमतको बलमिच्याइँले सत्ताले आफूखुसी अर्थ र आयाम दिन थालेको छ । अहिलेका सत्तापति बहुमतको आवरणमा महामारीको मौका छोपी झन् उत्तरदायित्वबाट विमुख हुँदै छन् । महामारीकालमा यस्तो लोकतन्त्र छ जहाँ ‘लोक’ नै हराएको छ । प्रश्न गर्दा भनिन्छ— यसले
सरकारको कार्यसम्पादनमा नकारात्मक असर पार्छ । महामारीका
बेला लोकतन्त्रको कुरा गर्ने हो ?
महामारीका बेला सरकारको कार्यशैली अलि भिन्न हुनु स्वाभाविक हो । तर लोकतन्त्रका आधारभूत मान्यताहरूलाई आघात पुर्‍याउन पाइँदैन । अहिले राजनीतिप्रति असन्तुष्टि बढ्दै गैरहेको छ । खालि असन्तुष्टि अभिव्यक्त गर्ने तरिका मात्र फरकफरक छन् । यो असन्तुष्टिले कस्ता खालका प्रतिक्रिया जन्माउँछ, त्यसको हेक्का संविधान पर्वको अनुष्ठानमा लागेको शासक वर्गलाई नहोला । किनभने फुनगीमा बसेकालाई भुइँयथार्थ बताइँदैन । तर जनताको प्रतिक्रिया कठोर हुन थाल्यो भने चुप बसेको वा जयगानमा रमाइरहेको वृत्त त्यतिखेर कता जाला ? त्यसको अनुमान गर्न गाह्रो छैन ।

Page 8
विदेश

‘रोकिएन प्रकृति विनाश’

- अब्दुल्लाह मियाँ
अमेजन जंगलमा भएको अवैध रूख कटानी । तस्बिर :  यूएन प्रतिवेदन

संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले बितेको एक दशकमा वन्यजन्तु र पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) जोगाउने अभियानमा विश्व समुदाय असफल भएको ठहर गरेको छ । विश्व समुदायले जैविक विविधतासम्बन्धी लक्ष्य हासिल गर्न नसकेको यो लगातार दोस्रो दशक हो । राष्ट्रसंघीय वातावरण कार्यक्रमले मंगलबार क्यानडाको मोन्ट्रियलमा सार्वजनिक गरेको ‘पाँचौं बायोडाइभरसिटी आउटलुक’ प्रतिवेदनमा मानवीय क्रियाकलापका कारण धेरै संख्यामा प्रजाति लोप हुने खतरा बढेको उल्लेख छ ।
विभिन्न देशका सय वैज्ञानिकले अनुसन्धान गरेर तयार पारेको यो प्रतिवेदन राष्ट्रसंघको ७५ औं महासभाको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो । प्रकृति र प्रकृतिमा उपलब्ध जैविक विविधताको अवस्थाबारे प्रकाश पार्ने यो प्रतिवेदन साताको दोस्रो हो । गत साता डब्लूडब्लूएफ र जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) ले सार्वजनिक गरेको ‘लिभिङ प्लानेट रिपोर्ट–२०२०’ सार्वजनिक गर्दै मानव क्रियाकलापका कारण ५० वर्षमा पृथ्वीबाट दुई तिहाइ जीवजन्तु घटेको उल्लेख थियो । संरक्षित क्षेत्र र आक्रामक प्रजाति सम्बन्धित ६ वटा लक्ष्य आंशिक रूपमा प्राप्त भएको भने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघीय जैविक विविधतासम्बन्धी सम्मेलन (सीबीडी) की कार्यकारी सचिव एलिजाबेथ मारूमा म्रेमाले समग्रमा मानवजातिले प्रकृतिलाई अप्रिय तरिकाले शोषण गरिरहेको बताइन् । ‘आफ्नो भलाइ, उपलब्धि र समृद्धिमा प्रकृतिको योगदान छ भन्ने कुरालाई मानिसले बुझ्न सकेनन्,’ उनले भनिन् ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन र जैविक विविधताको विनाश चुनौतीका रूपमा खडा भएकाले प्रकृति संरक्षण र दिगो व्यवस्थापनको प्रयासलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । राष्ट्रसंघीय वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसेनले प्रकृतिअनुरूप जीवन बिताउन, कृषि, खाद्य आपूर्ति प्रणाली व्यवस्थित गर्न, माछापालन व्यवस्थापन, पानीको प्रयोग, सहरी वातावरण व्यवस्थापनमा ध्यान दिन प्रतिवेदनले झक्झक्याएको उल्लेख गरेकी छन् ।
प्रतिवेदनअनुसार सन् २०१० मा जापानमा सन् २०२० सम्म लक्ष्य हासिल गर्ने भनी घोषणा गरिएका ‘जैविक विविधतासम्बन्धी आइचीका २० लक्ष्य’ मध्ये कुनै पनि लक्ष्यमा पूर्ण सफलता प्राप्त भएको छैन । यो असफलताले दिगो विकास लक्ष्य प्राप्ति नहुने खतरा निम्तिएको चेतावनी दिइएको छ । ‘खासगरी प्राकृतिक बासस्थानको क्षतिलाई आधा पार्ने प्रमुख लक्ष्य पूरा हुन सकेको छैन,’ प्रतिवेदनमा उल्लेख । राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार सन् २०१५–२०२० मा विश्वको वन विनाश दर प्रतिवर्ष एक करोड हेक्टर थियो । ‘अघिल्लो दशकमा भन्दा यो दशकमा वन विनाशमा ३३ प्रतिशतले कमी आएको छ,’ प्रतिवेदनमा भनिएको छ । राष्ट्रसंघीय जैविक विविधतासम्बन्धी सम्मेलन (सीबीडी) का उपकार्यकारी सचिव डेभिड कुपरले कृषि, जीवाष्म इन्धन र माछा मार्ने सरकारी अनुदानलाई चिन्ताको विषय भनेका छन् ।
प्लास्टिकजन्य फोहोर र अधिक पोषक तत्त्वलाई जुन स्तरमा ल्याउनुपर्ने हो त्यो नल्याइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार करिब २ लाख ६० हजार टन प्लास्टिकका कणहरू इकोसिस्टममा गम्भीर प्रभाव पार्ने गरी सागरमा तैरिएको छ । प्राकृतिक अवस्थामा माछाको उपलब्धतामा सन् २०१० पछि ५ प्रतिशतले ह्रास आएको छ ।
इलेक्ट्रोनिक्स प्रदूषणलाई बढ्दो चासोको मुद्दाका रूपमा हेरिएको छ । अत्यधिक माछा मार्ने गतिविधि र विनाशकारी अभ्यासका कारण २०१५ मै लक्ष्य हासिल गर्ने भनिएकामा सन् २०२० मा आइपुग्दासमेत कुनै सफलता हात नपरेको प्रतिवेदनमा उल्लेख छ । विश्वभर नै कृषिकार्यमा सबै जमिनको ९ प्रतिशत र फार्मका लागि २९ प्रतिशत प्रयोग भएको छ ।

विदेश

जापानको प्रधानमन्त्रीमा योसिहिडे सुगा

- कान्तिपुर संवाददाता
योसिहिडे सुगा

टोकियो (एजेन्सी)– जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित भएका छन् । सुगालाई जापानको संसद्ले बुधबार देशको प्रधानमन्त्री चयन गरेको हो ।
पूर्वप्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्मा बुधबार मतदान भएको थियो । सुगा केही दिनअघि सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता चयन भएका थिए ।
संसद्मा भएको मतदानले सुगाको नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको हो । आबेको मन्त्रिपरिषद्मा मुख्यसचिवका रूपमा रहेका सुगा दोस्रो वरीयतामा रहेको थिए । लामो समयदेखि अस्वस्थ भएपछि आबेले जनतासँग माफी माग्दै गत महिना देशको कार्यकारी पद छाड्ने घोषणा गरेका थिए । आबेका निकटतम सहयोगीसमेत मानिने सुगाले उनका नीतिहरूलाई नै निरन्तरता दिने अपेक्षा गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि आबेले आफ्नो ८ वर्षे कार्यकालमा भएका उपलब्धिप्रति आफू गौरवान्वित भएको बताएका थिए । त्यसलगत्तै जापानको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान गरिएको थियो । उक्त मतदानमा सुगाले कुल ४ सय ६२ सांसदमध्ये ३ सय १४ जनाको समर्थन पाएका हुन् । त्यस्तै उनलाई सिनेटका २ सय ४० मध्ये १ सय ४२ सांसदले समर्थन जनाएका छन् । एलडीपीले नेतृत्व गरेको गठबन्धनको संसद्मा बहुमत भएकाले उनको विजय निश्चित थियो ।

विदेश

गोर्खाल्यान्ड माग गर्दै मेघालयका मुख्यमन्त्रीद्वारा गृहमन्त्री शाहलाई पत्र

- कान्तिपुर संवाददाता
कोनराड के साङ्मा

दार्जिलिङ (कास)– भारतको मेघालय राज्यका मुख्यमन्त्री एवं सत्तारूढ दल नेसनल पिपल्स पार्टीका राष्ट्रिय अध्यक्ष कोनराड के साङ्माले केन्द्रीय गृहमन्त्री अमित शाहलाई चाँडै छुट्टै राज्य गोर्खाल्यान्ड गठन गर्न पत्र लेखेका छन् । ‘गोर्खाल्यान्डको मागबारेमा तपाईं राम्रोसँग अवगत हुनुहुन्छ,’ गृहमन्त्री शाहलाई लेखेको पत्रमा उल्लेख छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए सरकारले यस देशका नागरिकको हितमा असंख्य ऐतिहासिक निर्णयहरू लिएको छ । त्यसैले गोर्खाहरूको न्यायसंगत अनि संवैधानिक मागहरूको सहानुभूतिपूर्ण सुनुवाइ गर्दै शीघ्र स्थायी राजनीतिक समाधान गर्न निवेदन गर्दछु ।’ साङ्माले भारतमा स्वतन्त्रता सेनानी मेजर दुर्गा मल्लको योगदानबारे पनि पत्रमा उल्लेख गरेका छन् । उनले डम्बरसिंह गुरुङ र अरिबहादुर गुरुङ भारतको संविधानसभाका सदस्य रहेको उल्लेख गर्दै अरिबहादुरले भारतीय संविधानको प्रारूपमा हस्ताक्षरसमेत गरेको उल्लेख गरेका छन् ।
‘क्याप्टन रामसिंह ठकुरीले राष्ट्रिय गीतहरूमा धुन भरेका हुन् । भारतीय समाजको निर्माणमा गोर्खाहरूको प्रशस्त योगदान छ । गोर्खाहरू पनि अधिकार प्राप्तियोग्य भारतीय नागरिक हुन्,’ पत्रमा साङ्माले लेखेका छन् । त्यसैगरी, भाजपाका तर्फबाट दार्जिलिङका विधायक निरज जिम्बाले पनि केन्द्रीय गृहमन्त्री शाहलाई पत्राचार गर्दै यथाशीघ्र स्थायी राजनीतिक समाधान गर्न माग गरेका छन् । त्यस्तै माग गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले दार्जिलिङभर पोस्टर टाँसेको छ । सन् २०२१ मा हुने भनिएको पश्चिम बंगाल विधानसभा चुनावअघि नै केन्द्र सरकारले गोर्खाहरूको राजनीतिक माग सम्बोधन गर्नुपर्ने गोरामुमो बताएको छ ।

Page 9
अर्थ वाणिज्य

प्याजमा चरम कालोबजारी

अनुगमनमा आपूर्तिमन्त्री लेखराज भट्ट, वाणिज्य विभाग र काठमाडौं महानगरपालिकाको छुट्टाछुट्टै टोली
व्यापारीहरुले लुकाए प्याज
- राजु चौधरी
काठमाडौंको बल्खुमा बुधबार प्याजको मूल्य अनुगमनमा निस्किएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कृत्रिम अभाव र कालोबजारी सुरु भएको छ । व्यवसायी संगठित भएरै कृत्रिम अभाव गराइरहेका छन् । भारतले भदौ २९ देखि निर्यात रोकेको थियो । त्यसलगत्तै यहाँ कालोबजारी सुरु भएको हो ।
‘दुई–तीन दिनमै होलसेलमै मूल्य दोब्बर भयो, यो अस्वाभाविक हो,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका एक अधिकारीले भने । भदौ २९ मा होलसेलमा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको ती अधिकारी बताउँछन् । ३१ गतेसम्म आइपुग्दा होलसेलमै प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । खुद्रा बजारमा किलोकै १ सय ४० रुपैयाँसम्म पुगेको छ ।
‘भारतले निर्यात प्रतिबन्ध लगाउनेबित्तिकै अभाव हुनु सम्भव छैन । तर कालोबजारीमा व्यापारी संगठित भएर लागेको देखिन्छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले भने, ‘यति छिट्टै प्याज सकिँदैन, स्टक रित्तिने अवस्था छैन । तर व्यापारीहरूले लुकाए ।’ बजारमा कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि बुधबार काठमाडौं महानगरपालिकाले वाणिज्य, प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन गरेको थियो । अनुगमनका लागि वाणिज्य विभागले छुट्टाछुट्टै ५ वटा टोली खटाएको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि अनुगमनमा सहभागी थिए । त्यस क्रममा पनि कालोबजारी भइरहेको पुष्टि भएको छ ।
महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले बल्खु बजारमा गरेको अनुगमनका क्रममा कालोबजारी गरेको भेटिएपछि व्यवसायीलाई प्रहरीको जिम्मा लगाएको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । महानगरपालिकाले गरेको अनुगमनका क्रममा चुली सगरमाथा इन्टरप्राइजेज र एसके सप्लायर्सका सञ्चालकलाई पक्राउ गरेको थियो । ‘सञ्चालक एउटै भए पनि दुई/तीनवटा फर्म बनाएर कृत्रिम अभाव बनाएको देखियो । करिब १५/२० दिनअघि प्रतिकिलो ४८ रुपैयाँ र त्यसपछि ६१ रुपैयाँमा किनेको प्याज १ सय २० रुपैयाँसम्मा बिक्री गरेको रहेछ,’ भण्डारीले भने, ‘आयात बन्द हुँदा केही दिनपछि महँगो हुन सक्ला, प्राकृतिक अभाव हुन सक्ला । तर आजकै भोलि मूल्य बढ्नुपर्ने अवस्था छैन । कृत्रिम अभाव गराइएकाले प्रहरीलाई जिम्मा लगाएका छौं ।’
ती व्यापारीले प्याज नभएको बताएको अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाइ छ । त्यसपछि गोदाममा निरीक्षण गर्दा चुली इन्टरप्राइजेजमा २ सय र एसकेमा १९ बोरा प्याज लुकाएको भेटियो । ‘प्याज लुकाएर कृत्रिम अभाव गरी कालोबजारी गरेको देखियो,’ तिमिल्सिनाले भने । अनुगमनका क्रममा ४ पसललाई थप कारबाही प्रक्रिया अघि बढाउन वाणिज्यलाई जिम्मा लगाइएको उनले जानकारी दिए । ‘प्रतिकिलो ५० रुपैयाँमा खरिद गरेको प्याज १ सय १० देखि १ सय २० रुपैयाँसम्ममा बिक्री गरेको देखियो,’ भण्डारीले भने, ‘खरिद बिल, मूल्यसूची नराखेको कसुरमा ती फर्मलाई थप कारबाही गर्न वाणिज्यको जिम्मा लगाएका छौं ।’ ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिने वाणिज्य विभागका प्रवक्ता आचार्यले जानकारी दिए । ‘सम्भवत ः बिहीबार नै कारबाही/जरिवाना हुन्छ,’ उनले भने । महानगरको टोलीले बल्खुमा रहेकै बेला उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट पनि अनुगमनका लागि त्यहाँ पुगेका थिए ।
प्रतिबन्धकै कारण मूल्य बढेको बल्खु तरकारी बजारका सहायक व्यवस्थापक रेशम तामाङले दाबी गरे । ‘प्रतिबन्धको हल्ला दुई–तीन अगाडिदेखि नै थियो । त्यही भएर आवश्यकताभन्दा बढी मौज्दात गरे, एक बोरा चाहिनेले २/३ बोरा, १० बोरा चाहिनेले २०/३० बोरासम्म खरिद गरेका छन्,’ उनले भने, ‘जसले गर्दा बजारमा अभाव देखियो ।’ वाणिज्य विभागले मंगलबार कालीमाटीका ६ पसलमा अनुगमन गरेको थियो । जसमध्ये ४ प्याज पसल रहेको प्रवक्ता आचार्यले बताए ।
विभागको टोलीले मंगलबार पनि मूल्य बुझ्न कालीमाटीका पसलमा अनुगमन गरेको थियो । त्यति बेला प्याज मौज्दात थियो । तर व्यवसायी उपस्थित नभएको र महँगो भएको भन्दै टोलीले व्यवसायसँग सम्बन्धित कागजात तथा खरिदबिक्री बिलसहित विभागमा ३ दिनभित्र उपस्थित हुन निर्देशनसहितको पत्र (मुचुल्का) चारवटा प्याज पसलमा टाँसेको थियो । बुधबार भने मुचुल्का च्यातिएको पाइएको आचार्यको भनाइ छ । ‘बुधबार थप ५ टोलीबाट अनुगमन गरेका थियौं, कालीमाटी बजारमा पुग्दा त्यहाँ पत्र च्यातिएको थियो । प्याज पनि थिएन,’ प्रवक्ता आचार्यले भने, ‘प्रहरी हेडक्वाटरबाट अनुगमनका लागि प्रहरी नदिँदा सुरक्षा चुनौती छ । कर्मचारी पनि असुरक्षित छन् ।’उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले पनि प्याजमा कृत्रिम अभाव गराई कालोबजारी भइरहेको बताए । ‘बन्देजका नाममा कृत्रिम अभाव र कालोबजारी भएको छ,’ उनले भने, ‘कालोबजारी गर्नेलाई मुद्दा चलाउँछौं । अनुगमन थप तीव्र हुन्छ ।’ कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिभित्रका स्टल नम्बर ५१९, ५२४, ५१६, ५३५, आरके ट्रेडर्स, आदि शक्ति ट्रेडर्सलगायतलाई कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
‘अनुगमनमा जाँदा व्यापारीहरू समूहमा प्रस्तुत हुन्छन्, अनुगमन गरेर सिल गरेको पसलका सामान अर्को बाटोमा निकालेको पनि देखियो,’ बस्नेतले भने । मुलुकभर औसत २० हजार हेक्टरमा प्याज खेती हुन्छ । उक्त क्षेत्रफलमा वार्षिक करिब साढे २ लाख टन प्याज उत्पादन हुन्छ । उक्त उत्पादनले ४ महिना पनि धान्दैन । पर्याप्त उत्पादन नहुँदा प्याजमा आयातकै निर्भर हुनुपर्ने बाध्यता छ । उत्पादन बढाउन सरकारसँग पनि विशेष कार्यक्रम छैन । स्वदेशमा उत्पादित प्याज स्थानीय तहमै खपत हुन्छ । भारतले प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियले फाइदा लिएका हुन् । जसले गर्दा पछिल्ला दिनमा मूल्य दैनिक बढिरहेको छ ।

अर्थ वाणिज्य

महामारीमै काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रस्टको ताकेता

- विमल खतिवडा

कोभिड–१९ का कारण व्यापार व्यवसाय धराशायी बनिरहेका बेला नेपाल ट्रस्ट भने कमलादीस्थित काठमाडौं प्लाजा खाली गराउन व्यवसायीलाई ताकेता गरिरहेको छ । लकडाउनकै बेला असार २ मा ट्रस्टले १५ दिने सूचना निकालेर प्लाजा खाली गर्न भनेको थियो । भवन खाली गराएर ट्रस्टले महानगरपालिकालाई भाडामा दिन लागेको हो । कोभिडका बेला व्यवसाय बन्द भएको र सर्ने विकल्प नहुँदा पनि ट्रस्टले मानवता नदेखाई जबर्जस्ती खाली गराउन खोजेको उक्त भवनमा व्यापार व्यवसाय गर्दै आएकाहरूको आरोप छ ।
व्यवसायीले हालको अवस्थामा व्यावहारिक पक्ष नहेरी खाली गराउन खोजिएको भन्दै कोभिड समस्या नसकिँदासम्म बस्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् । यसबारे बुधबार छलफल हुने कार्यतालिका थियो । कन्सेप्ट डेभलपर्सलाई पनि व्यवसायीले विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । मुद्दाको म्यादको सूचना पठाउँदा मान्छे फेला नपरेकाले छलफलको कार्यतालिका एक हप्तालाई सरेको छ । प्लाजाको भवन कन्सेप्ट डेभलपर्सले ०५० सालमा भाडामा लिएको हो । असार २ गते सम्झौताको समय सकिएकाले थप गर्न माग गर्दा ट्रस्टले आफूहरूको कुरै नसुनेको कन्सेप्ट डेभलपर्सको भनाइ छ ।
अप्ठ्यारो अवस्थामा भवन खाली गर्नभन्दा दुःख लागेको उक्त भवनमा राज घराना गजल रेस्टुरेन्ट चलाउँदै आएका शिव केसी बताउँछन् ।
‘हाम्रो कुनै समिति छैन, हामीले यस्तो बेलामा निकाल्न हुँदैन भनेर ट्रस्टमा ज्ञापनपत्र पनि बुझायौं,’ उनले भने, ‘हामी भाडा तिरेर बस्ने हो, भाडा समायोजन गरे तिर्न तयार छौं भन्दा पनि हाम्रा कुरा सुनिएन ।’ दुई महिनाअघि मन्त्रिपरिषद् बैठकले काठमाडौं प्लाजा सञ्चालन गर्न काठमाडौ महानगरपालिकालाई दिने निर्णय गरेको थियो । अहिले यो भवनमा दुई वटा बैंकका मुख्य कार्यालय, बिमा कम्पनीसहित ८० जना व्यवसायीले व्यवसाय गरिरहेका छन् । ‘यसलाई काठमाडौं मल, विशाल बजार जस्तै सोचिएको होला, त्यो होइन,’ उनले भने, ‘यो दुई हजारले रोजगारी पाएको कर्पोरेट भवन हो ।’ ट्रस्टमा
बुझ्दा छाड्नैपर्ने मनस्थिति बनाउन भनिएको उनले बताए । ‘यस्तो गाह्रो समयमा के गर्नुहुन्छ, कसो गर्नुहुन्छ भन्ने कुरा नै गरिएन,’ उनले भने, ‘गर्ने नै भए टेन्डर गरेको भए हुन्थ्यो ।’ त्यसमा सहभागी भएर कतिपय व्यवसायी त्यहीं बसिरहन चाहन्छन् । अप्ठ्यारो अवस्थामा आफूहरूलाई सडकमा ल्याउन खोजिएको प्लाजामा १२ वर्षदेखि ग्लोबल जब सञ्चालन गर्दै आएका बीआर शर्माले गुनासो गरे । ‘अन्य देशमा काम गर्नेहरू विस्थापित नहोऊन् भनेर राज्यले नै सहयोग गरिरहेको छ । हाम्रोमा भने विस्थापित गराउने प्रयास भइरहेको छ,’ उनले भने, ‘योभन्दा बढी लज्जास्पद काम अरू के हुन सक्छ ? राहत र हौसला पाउनुपर्ने बेला सरकारले यस्तो निर्णय गरिदिँदा योभन्दा दुःखको कुरा अरू के हुन्छ र ?’
कार्यालय बनाउन अहिलेसम्म उनले एक करोड लगानी गरिसकेका छन् । प्रायः सबै व्यवसायीले सोही अनुपातमा लगानी गरेको उनले बताए । ‘यस्तो बेला हामीलाई जोगाउने कि हटाउने हो ?’ शर्माले भने, ‘सरकार मानवता बिर्सिएर काम गर्दै छ, यो ठाउँमा हाम्रो धेरै लगानी छ, बैंकबाट ऋण लिएर व्यवसाय गर्ने धेरै छन् ।’ कन्सेप्ट डेभलपर्सका सुनिल श्रेष्ठका अनुसार समय सकिनुअघि नै ट्रस्टलाई जानकारी गराइएको थियो । ‘हाम्रो सम्झौता २७ वर्षको थियो, छाड्ने आफ्नो हिसाब थियो,’ उनले भने, ‘तर ट्रस्टले नै ऐन संशोधन गरेर यति होल्डिङ्सले लिएको गोकर्ण रिसोर्टको ५ वर्ष सम्झौता बाँकी हुँदै ३० वर्ष थपिदियो, त्यही नियम/कानुनले हामीलाई दिन नमिल्ने ?’ मासिक ६ लाख २५ हजार भाडाबाट सुरु भएको प्लाजामा अहिले ६२ लाख दिन तयार रहेको उनले बताए । ‘तर पनि ट्रस्टले हाम्रो प्रस्ताव नै हेरेन, उल्टै ६० लाखमा महानगरपालिकालाई दिन तयार भएको छ ।’
ट्रस्टको सञ्चालक समिति बैठकले निर्णय गर्नुभन्दा तीन दिनअघि नै ६२ लाख रुपैयाँ दिने प्रस्ताव पेस गरिएको थियो । त्यस्तै मर्मतसम्भारमा थप ८ करोड लगानी गर्ने भनिएको थियो । ‘तर महानगरपालिकाले ६० लाख दिने, मर्मत खर्च भाडाबाटै कटाउने भनेर प्रस्ताव पेस गरेको थियो,’ श्रेष्ठले भने, ‘बोर्ड बैठकमा हाम्रो प्रस्ताव नै नलगी महानगरपालिकाको मात्र लगेर उसैलाई दिने भनेर निर्णय गरियो ।’
सम्झौता सकिनुअघि कोभिडले गर्दा समय थप गर्न माग गरेको उनले बताए । ‘पसल कार्यालय सबै बन्द थिए, अवस्था अप्ठ्यारो थियो, त्यही भएर समय थप गर्न माग गरेका थियौं,’ उनले भने । त्यसको पनि जवाफ नदिई असार २ गते खाली गर्न भनेर सूचना निकालिएको उनको भनाइ छ । यसबारे ध्यानाकर्षण गराउँदा पनि उल्टै चिठी पठाएर तुरुन्त खाली गर्न भनिएको थियो । ‘सम्झौता सकियो, त्यो बेला अदालत सबै बन्द थिए,’ उनले भने, ‘पछि सर्वोच्च अदालत गयौं, त्यहाँ व्यापार व्यवसाय गर्नेहरू उच्च अदालत पाटन गए ।’ पछि रिट खारेज भएको उनले जानकारी दिए ।
उच्च अदालत पाटनले निर्णय नहुन्जेल नहटाउनू र नचलाउनू भनेको छ । चैतदेखि भाडा उठाइएको छैन । महानगरपालिकाले भन्दा बढी भाडा दिन्छौं भन्दा पनि नदिनुको कारण थाहा नभएको उनको भनाइ छ । ‘हामीलाई नदिनुको कारण के हो ? हाम्रो प्रस्ताव किन लुकाइयो ?’ श्रेष्ठले भने । महानगरपालिकाका कार्यालय धेरै ठाउँमा छरिएकाले एकै ठाउँमा राख्ने गरी काठमाडौं प्लाजा भाडामा लिन खोजिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘हाम्रो कार्यालय आठ ठाउँमा छरिएको छ, जसले गर्दा सर्वसाधारणलाई सेवा लिन कठिन भयो,’ उनले भने, ‘धेरै समस्या भएपछि कार्यपालिकाको बैठक र नगर परिषद्को निर्णयबाट काठमाडौं प्लाजामा सर्ने र सबै कार्यालय त्यहीं राख्ने भन्ने कुरा भएको हो ।’ कसैलाई भाडामा दिने गरी प्लाजा लिन नखोजिएको उनको भनाइ छ ।
‘कोभिडको समस्या ३ करोड जनतालाई नै छ, महानगरका कार्यालय धेरैतिर हुँदा लाखौं जनतालाई असर परेको छ,’ उनले भने, ‘त्यसलाई सम्बोधन गर्ने कि निश्चित व्यापारीलाई ?’ कार्यालय राखेपछि अरूलाई भाडामा दिन नसकिने उनले बताए । ‘त्यहाँ हामीलाई नै स्पेस पुग्न गाह्रो छ,’ डंगोलले भने, ‘महानगरले व्यवसाय गर्ने होइन, सेवा दिने हो ।’ अनौपचारिक छलफलका क्रममा कार्यालय राखिसकेपछि एक/दुई वटा सटर खाली भए के गर्ने भन्ने कुरा भए पनि औपचारिक रूपमा निर्णय भइनसकेको उनले
प्रस्ट्याए । महानगरले अहिले मासिक भाडा ३५ लाख तिर्छ । यता नेपाल ट्रस्टका प्रवक्ता बाबुराजा श्रेष्ठ भने कन्सेप्ट डेभलपर्सबाट सुरुमा ६२ लाख दिने भनेर प्रस्ताव नआएको बताउँछन् । ‘०७६ कात्तिकमा एउटा प्रस्ताव पेस भयो, असार २ मा म्याद सकिँदै थियो,’ उनले भने, ‘महिनाको ८ लाख दिने भनेर प्रस्ताव पेस भयो, अहिले ६ लाख तिरिरहेका छन् ।’ उनका अनुसार प्रस्ताव सञ्चालक समितिमा लगियो । ‘राजाको पालामा राजाबाटै कन्सेप्टले भाडामा लिएको थियो,’ उनले भने, ‘अहिले कार्यालयबाट भवनको मूल्यांकन भयो, जसअनुसार ५९ लाख मासिक भाडा लिनुपर्ने मूल्यांकनबाट देखियो ।’ तर प्रस्तावमा मासिक ८ लाख मात्र दिने कुरा आएपछि सञ्चालक समितिबाट अस्वीकृत भएको उनले बताए । ‘ज्यादै न्यून भएकाले कन्सेप्टको प्रस्ताव अस्वीकृत भयो,’ उनले भने ।
कन्सेप्टलाई यसबारेको जानकारी कात्तिकमै दिइसकेको उनले जानकारी दिए । ‘त्यसको एक/डेढ महिनापछि महानगरपालिकाबाट आठ ठाउँभन्दा बढी स्थानबाट कार्यालय सञ्चालन गर्नुपरेको भन्दै भाडामा दिनुपर्ने भन्दै प्रस्ताव आयो,’ ट्रस्टका प्रवक्ता श्रेष्ठले भने । महानगरपालिकाको प्रस्ताव सञ्चालक समितिबाट पास भयो । महानगरको प्रस्ताव स्वीकृत भइसकेपछि मात्र कन्सेप्टले ६२ लाख रुपैयाँको प्रस्ताव पेस गरेको उनले दाबी गरे ।
‘भवन खाली गरिदिन ऐन कानुनअनुसार सूचना निकाल्नुपर्ने हुन्छ, सूचना निकाल्नुपर्ने समय संयोगले कोभिडकै बेला पर्‍यो,’ उनले भने । असारमा खाली गर्नुपर्ने जानकारी गत कात्तिकमै गराइएको उनको भनाइ छ । ‘यो बेलासम्म चुप लागेर बस्ने, म्याद सकिएपछि होइन, अहिले कोभिडको समस्या छ भन्ने कुरा त भएन,’ उनले भने, ‘त्यही बेला पनि तयारी हुनुपर्थ्यो, असारयता पनि सर्ने थुप्रै समय थियो ।’

अर्थ वाणिज्य

‘सम्धी’ लाई बैंकको अध्यक्ष बनाउने एजेन्डा सेलायो

कोइराला सञ्चालकमा नियुक्त भएपछि बैंक सञ्चालक समितिका चार बैठक बसिसके । कुनैमा पनि अध्यक्ष चयनको प्रस्ताव राखिएन ।
- यज्ञ बञ्जाडे
उपेन्द्र कोइराला

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने प्रस्ताव सेलाएको छ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्त गरेका थिए । विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण सञ्चालकमा नियुक्त भएको करिब महिना दिनसम्म पनि बैंकले कोइरालालाई अध्यक्ष बनाउन सकेको छैन ।
मन्त्रीस्तरीय बैठकबाट अर्थ मन्त्रालयले भदौ ७ मा कोइरालालाई सञ्चालकमा नियुक्त गरेको थियो । भदौ ८ मा उक्त निर्णयको पत्र बैंकलाई प्राप्त भएको थियो । त्यसपछि बैंक सञ्चालक समितिको बैठक (भदौ १० गते बुधबार) मा कोइरालालाई अध्यक्ष चयन गर्ने प्रस्ताव तय भएको थियो । तर कोइरालाका विषयमा चौतर्फी विरोध भएपछि बुधबार बैठक बस्न सकेन । स्थगित बैठक बिहीबार बस्यो । बैठकमा अध्यक्ष चयनको प्रस्ताव राखिएन । स्रोतका अनुसार उक्त बैठकमा कोइरालाले नै नआउने बताएपछि अध्यक्ष नियुक्तिको प्रस्ताव नराखिएको हो । त्यसपछि पनि सञ्चालक समितिका तीन वटा बैठक बसिसकेका छन् । ती बैठकमा पनि अध्यक्ष चयनको प्रस्ताव राखिएन । पछिल्लो बैठक बुधबार (भदौ ३१) मा बस्यो । उक्त बैठकमा पनि अध्यक्ष नियुक्तिको प्रस्ताव नभएको बैंक स्रोतले बताएको छ ।
अर्थ मन्त्रालयबाटै अहिले उक्त प्रस्ताव नराख्नू भन्ने निर्देशन आएकाले बैंक व्यवस्थापनले सञ्चालक समितिमा अध्यक्ष नियुक्त प्रस्ताव नलगेको बताइएको छ । हाल बैंकमा अध्यक्ष पद खाली छ । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेपछि अध्यक्ष पद खाली भएको हो । सोही पदमा कोइरालालाई नियुक्त गर्ने अर्थ मन्त्रालयको तयारी हो । तर कोइरालाको विवादास्पद छविलाई लिएर चौतर्फी विरोध भएपछि बैंकले अझै अध्यक्ष चुन्न सकेको छैन । हाल अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका सहसचिव धनीराम शर्माले बैठकको अध्यक्षता गरिरहेका छन् । अध्यक्ष चयनमा किन ढिलाइ भएको हो ? बैंक स्रोत भन्छ, ‘अर्थ मन्त्रालयबाटै नै अहिलेलाई सो प्रस्ताव अघि नराख्नू भन्ने निर्देशन आएको छ । त्यसको कारण थाहा भएन ।’ नियमित कामका लागि पनि हरेक साता कम्तीमा एक पटक बैंक सञ्चालक समितिको बैठक बस्दै आएको छ ।
कोइरालालाई अध्यक्ष बनाउन नचाहेर बैठकमा प्रस्ताव नलगिएको भने होइन । उनको विषयमा चर्को विरोध भएकाले यही बेला नियुक्त गर्दा नराम्रो सन्देश जाला भनेर रोकिएको स्रोतले बताएको छ । ‘कोइरालाको विषयलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जाल तातेको छ,’ स्रोतले भन्यो, ‘विरोध केही कम होस् भनेर पर्खिएको मात्र हो ।’
नेकपाको पार्टी पंक्तिमा उच्च तहका नेतासँगको कोइरालाको सम्पर्क र उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी भएकै कारण पनि बैंकले उनलाई नै अध्यक्ष बनाउने स्रोतको दाबी छ । ‘यति बेला सञ्चालक समिति उपयुक्त समयको पर्खाइमा छ,’ स्रोतले भन्यो, ‘ढिलोचाँडो कोइराला नै अध्यक्ष हुनेछन् ।’ सरकारी बैंक भएकाले पनि सञ्चालक समितिमा सरकारले नियुक्त गरेका पदेन सदस्यको बाहुल्य छ । यसकारण पनि उनीहरूले सरकार (अर्थ मन्त्रालय) को निर्णय मान्नैपर्ने स्रोतको भनाइ छ । अर्थ मन्त्रालयले कोइरालालाई चार वर्षका लागि नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा बैंकको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।
सञ्चालकमा नवनियुक्त कोइरालाले भने बैंकबाट खबर नआएकाले सञ्चालक समितिको बैठकमा उपस्थित नभएको प्रतिक्रिया दिए । ‘नियुक्त भएलगत्तै बसेको बैंक सञ्चालक समिति बैठकमा म आफैं उपस्थित नभएको हुँ,’ उनले भने, ‘त्यसपछिका बैठकका लागि बैंकबाट खबर आएको छैन ।’ तपाईंले अध्यक्ष बन्न इन्कार गरेको त होइन नि भन्ने जिज्ञासामा कोइरालाले भने, ‘सरकारले जिम्मेवारी दिएपछि किन नलिनु, तपाईंलाई नियुक्त गरेको भए छोड्नुहुन्थ्यो र ?’
कोइराला यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाएर विवादमा मुछिएका थिए । उनको हरेक कार्यकाल कुनै न कुनै रूपमा विवादित छ । उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी भएकाले तत्कालीन एमाले र अहिले नेकपा सत्तामा पुग्दा राजनीतिक लाभको पद पाउने गरेको टिप्पणी हुने गरेको छ ।
कोइराला निकटहरू उनलाई शक्तिकेन्द्रको पहुँचका आधारमा पद हत्याउने व्यक्तिका रूपमा लिन्छन् । तत्कालीन एमालेको अल्पमतको सरकार ०५१ सालमा बनेसँगै कोइरालाले पनि राजनीतिक नियुक्तिका लागि पाइला चाले । उनी ०५१ माघ ५ देखि ०५२ मंसिर ३ गतेसम्म खाद्य संस्थानको महाप्रबन्धक बने । हाल रूपान्तरण भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका एक कर्मचारीका अनुसार उनले खाद्य संस्थानलाई नजिकका मानिस र कार्यकर्ता नियुक्त गर्ने भर्तीकेन्द्र बनाएका थिए । झन्डै एक वर्ष मात्रै उनले खाद्य संस्थानमा बिताए ।
विराटनगर घर भएका कोइराला ०५५ सालमा महेन्द्र मोरङ क्याम्पसको प्रमुख बने । क्याम्पस प्रमुख हुँदा उनलाई आर्थिक अनियमिततामा संलग्न भएको आरोप लाग्यो । त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा परियोजनाको बजेट घोटाला गरेको आरोपमा विश्वविद्यालयले उनीमाथि छानबिन गरेको थियो । त्यो परियोजनाको क्लस्टर कार्यक्रमका लागि निकासा भएको बजेटमा अनियमितता गरेको आरोप उनीमाथि थियो । सूर्यमणि अधिकारीको नेतृत्वमा बनेको छानबिन समितिले उनलाई तत्काल निलम्बन गर्न र पदबाट हटाउन सिफारिस गर्‍यो । तर उनलाई कारबाही नगरी प्रतिवेदन गुपचुपमै राखियो ।
तत्कालीन एमाले शाही सरकारमा गएपछि ईश्वर पोखरेल आपूर्तिमन्त्री बने । त्यसपछि कोइरालाले आयल निगममा कार्यकारी अध्यक्षमा नियुक्ति पाए । त्यहाँ पनि उनले विवादरहित काम गर्न सकेनन् । आयल निगममै हुँदा गैरकानुनी लाभ लिएर २३ जना कर्मचारीलाई कामु जिम्मेवारी दिएर निगमलाई नोक्सानी पुर्‍याएको आरोपमा कोइरालाविरुद्ध अख्तियारमा उजुरी पर्‍यो । अख्तियारले ०६४ माघ १३ मा कोइरालाको निर्देशन पालना गर्ने निर्देशक बच्चुकुमार काफ्ले र बेनुविक्रम पन्तलाई विभागीय कारबाहीका लागि पठायो । त्यतिन्जेल कोइरालाले निगम छाडेर उच्च माध्यमिक शिक्षा परिषद्मा अर्को नियुक्ति लिई विवादित भएर पनि राजीनामा गरिसकेका थिए ।
कोइरालाले ०६३ मा फेरि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षको जिम्मेवारी पाए । त्यहाँ पनि चारवर्षे कार्यकाल पूरा गर्न सकेनन् । कक्षा ११ र १२ को परीक्षा सञ्चालनका क्रममा आवश्यक उत्तरपुस्तिकाभन्दा कम छपाएर मातहतका केन्द्रमा पठाई बढी देखाएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । पछि चलखेल गरेर उनलाई जोगाइयो ।
राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त हुनुअघि कोइराला मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति थिए । त्यहाँ पनि उनी विवादरहित हुन सकेनन् । यसअघिका सबै नियुक्तिमा विवादित भएकै कारण अहिलेको नियुक्तिलाई लिएर कोइरालाको सबैतिर विरोध भएको हो ।

Page 10
अर्थ वाणिज्य

मेटलाइफले ल्यायो ‘नयाँ ग्राहक सेवा एप’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मेटलाइफले ‘नयाँ ग्राहक सेवा एप’ ल्याएको छ । बिमासम्बन्धी सेवाको पहुँच थप बढाउन र आफ्नो बिमा पोलिसी व्यवस्थापन गर्न कम्पनीले यो एप ल्याएको हो । एपले ग्राहकलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफका विभिन्न सेवामा पहुँच बढाउनेछ । डिजिटल थिमअन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले मेटलाइफका कर्मचारी र फिल्ड फोर्सहरूको उपस्थितिमा भर्चुअल कार्यक्रममार्फत उक्त एपको उद्घाटन गरे । यो एप आईओएस एप स्टोर वा एन्ड्रोइड गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गरी चलाउन सकिन्छ । प्रयोगकर्ताले एपमा लगइन गरेपछि आफ्नो बिमा पोलिसीको स्थिति, भुक्तानी गरिएको प्रिमियम किस्ताका साथै पोलिसीहरूको विस्तृत भुक्तान विवरणलगायत जानकारी
हेर्न सक्छन् ।

अर्थ वाणिज्य

कामना–क्वेस्ट सहकार्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कामना सेवा विकास बैंक र क्वेस्ट इन्टरनेसनल कलेजबीच बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र क्वेस्ट कलेजका प्रिन्सिपल उदयराज पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले कलेजका विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्नेछ ।

अर्थ वाणिज्य

सिटिजन्सको ‘स्क्यान एन्ड विथड्र’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकका लागि ‘स्क्यान एन्ड विथड्र’ सेवा सुरु गरेको छ । कोभिड–१९ महामारीका समयमा ग्राहकको वित्तीय आवश्यकतालाई सुरक्षित किमिसले पूरा गर्न यो सेवा थालिएको हो । यो सेवामार्फत ग्राहकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने बैंकले जनाएको छ ।

Page 12
खेलकुद

खेलाडीको बिमा अपरिहार्य, गृहकार्यमा राखेप

- कुशल तिमल्सिना
इन्फोग्राफिक्स : रामकृष्ण श्रेष्ठ

गत माघ १० गते आरबीबी–एनभीए राष्ट्रिय क्लब च्याम्पियनसिप महिला भलिबलको फाइनलमा न्यु डायमन्ड स्पोर्टस् क्लबकी मुख्य स्पाइकर प्रतिभा मालीको घुँडामा चोट लाग्यो । राजधानीकै ब्लुक्रस अस्पतालमा दुईपल्ट शल्यक्रिया गराएपछि उनी आराम गरिरहेकी छन् । चिकित्सकले उनलाई ९ महिनादेखि १ वर्षसम्म कोर्टबाहिर रहनुपर्ने भनेका छन् ।
नेपाल भलिबल संघको आधिकारिक प्रतियोगितामा खेलाडीको बिमा गरिएको थिएन । प्रतिभाको उपचारमा लागेको लाखौं रकम भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बेहोर्ने भनेका छन् ।

महोत्तरीका कुन्दन सिंह राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेश २ का ओपनिङ ब्याट्सम्यान थिए । अघिल्लो वर्ष काठमाडौंमा आयोजित प्रधानमन्त्री कप खेलेयता बिरामी परेका कुन्दनको उपचारका क्रममा दुवै मिर्गौलामा समस्या देखियो । उमेर समूहदेखि नै राष्ट्रिय प्रतियोगिता खेलिरहेका कुन्दन अहिले नियमित डायलसिस गरिरहेका छन् । उनको मिर्गौला फेर्नुपर्ने छ तर आर्थिक कारणले सकिरहेका छैनन् । उनको पनि बिमा थिएन । उनी पनि ठूलो आर्थिक भार बेहोर्न नसकेर जीवनमरणको स्थितिमा छन् ।
िि
िनेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेल खलेका तीव्र गतिका बलर ललितसिंह भण्डारी यसै साता घरेलु सहर कञ्चनपुरको महेन्द्रनगरमा सडक दुर्घटनामा परे । धनगढी र नेपालगन्जमा उपचार सम्भव नभएपछि गम्भीर अवस्थामा उनको उपचार राजधानीको ग्रान्डी अस्पतालमा भइरहेको छ । एउटा हात र एउटा खुट्टाको एकभन्दा बढी स्थानमा भाँचिएको, कलेजो र फोक्सोमा समेत चोट लागेकाले उनको उपचारमा १५–२० लाख खर्च हुने अनुमान गरिएको छ । बिमा भएको भए उपचारमा लाग्ने ठूलो आर्थिकभारबाट जोखिममुक्त हुन सक्थे ।
उनको उपचारमा सहयोगका लागि राष्ट्रिय क्रिकेट खेलाडी संघ र नेपाली क्रिकेट समर्थकले आर्थिक सहयोग संकलनको अभियान नै चलाइरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) र राखेपले पनि सहयोगको आश्वासन दिएका छन् ।

उल्लिखित तीन खेलाडी फरक अवस्थामा उपचररत छन् । प्रतियोगिताका क्रममा इन्ज्युरी, गम्भीर रोग र दुर्घटना । यी तीनैको साझा समस्या भनेको उनीहरू बिमाको दायराभित्र थिएनन् । ठूलो आर्थिक व्ययभार बेहोर्न बाध्य छन् । राष्ट्रको गहना भनिने खेलाडीले आफ्नै उपचारका लागि हात फैलाउनुपर्ने अवस्थामा छन् ।
विकसित देशमा आमनागरिकको स्वास्थ्य बिमा अनिवार्य हुन्छ । खेलाडीको हकमा त विशेष बिमा कार्यक्रम लागू गरिएको हुन्छ । बिमाबारे पर्याप्त जानकारी नेपाली समाजमा पुगेको छैन । बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप सरकारलाई पनि लाग्ने गरेको छ ।
केही वर्षयता लागू गरिएको स्वास्थ्य बिमा र कोरोना महामारीपछि सुरु भएको कोरोना बिमामा आम सर्वसाधारणको रुचिका कारण यसको प्रभावकारिता बिस्तारै बढ्न थालेको छ । अर्धव्यावसायिक खेलकुद गतिविधि हुने नेपालमा खेलाडीको बिमा कार्यक्रमलाई निकै गौण रूपमा राखिएको छ । केही खेल संघ र खेलकुद संस्थाले खेलाडीका लागि कोरोना बिमा गरिरहेका छन् । ब्याडमिन्टन, फेन्सिङ, टेबलटेनिस, बक्सिङ, फुटबल, क्रिकेटलगायतका केही खेल संघले आफ्ना खेलाडीको कोरोना बिमा गरिदिएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएले १३ औं दक्षिण एसियाली खेलकुद र आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई कोरोना बिमा गरिदिने भनेको छ ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले भने खेलाडीको कोरोना बिमा नगरिएको प्रस्ट पारे । ‘केही खेल संस्थाले गरिरहेका छन् । राखेपले अहिलेसम्म गर्ने निर्णय गरेको छैन । बिमाका केही संशयहरू पनि देखिए र कोही खेलाडी संक्रमित भएको अवस्थामा राखेपले सहयोग गर्नेछ,’ कान्तिपुरसँगको कुराकानीमा सदस्य–सचिव सिलवालले भने ।
क्रिकेट संघले कोरोना बिमामा पनि पुरुष राष्ट्रिय टोलीको मात्र गरेर लैंगिक भेदभाव गर्‍यो । स्वयं महिला क्रिकेटरले नै विरोध गरेपछि क्यानले महिला खेलाडीको पनि बिमा गरेको छ । अन्य थुप्रै अन्तर्राष्ट्रिय खेलाडी छन् जो यस महामारीलक्षित कोरोना बिमाको दायरामा पनि आउन सकेका छैनन् । यो कोरोना महामारीलक्षित बिमा कार्यक्रम हो । यो एक वर्ष अवधिका लागि निश्चित शुल्कको मात्र हुन्छ । तर खेलाडीका लागि बिरामी पर्दा, दुर्घटना तथा प्रतियोगिता दौरान लाग्ने चोटपटकलक्षित बिमा आवश्यक भइरहेको छ ।
राखेप सदस्य–सचिव सिलवालले मंगलबार ग्रान्डी अस्पताल पुगेर क्रिकेट खेलाडी ललितसिंह, उनको परिवार र उपचारमा संलग्न चिकित्सकसँग छलफल गरे । उनले ललितको उपचारमा कुनै कन्जुस्याइँ नगर्ने र आवश्यक सहयोग राखेपले उपलब्ध गराउने आश्वासन दिए । खेलाडी बिमा कार्यक्रम हुन सकेको भए राखेपको कोषबाट खेलाडी उपचारलाई रकम छुट्याउनुपर्ने थिएन कि ?
‘हामीले हरेक प्रतियोगिताअगाडि सम्बन्धित संघ र प्रतियोगिता आयोजकलाई बिमा गराउन अनिवार्य गरिसकेका छौं । बिमाबिना प्रतियोगिताको स्वीकृति नदिने प्रावधान बनाउन लागेका छौं । त्यसमा पनि केही छुटपुट भएको हुनसक्छ,’ सदस्य–सचिव सिलवालले थपे, ‘खेलाडी बिमारी हुँदा, दुर्घटनामा पर्दा र प्रतियोगिताका क्रममा हुने इन्ज्युरीमा अवस्था हेरेर राखेप र खेलाडी कल्याणकारी कोषबाट पनि सहयोग भइरहेको छ । ललितको हकमा हामीले त्यस्तै गर्ने सोचेका छौं ।’
राष्ट्रिय खेलाडीका लागि कार्यविधि बनाएर बिमा कार्यक्रम लागू गर्नेबारे गृहकार्य भइरहेको सदस्य–सचिवले जानकारी गराए । कार्यविधिमा कस्तो विकल्प प्रस्तुत गर्ने भन्ने उनले खुलाएनन् । ‘केही राष्ट्रिय टिमका खेलाडीको सम्बन्धित संघले नै बिमा गरेको छ । यसको अर्थ सबै खेलाडी त्यसमा समेटिएका छन् भन्ने होइन । विभागीय खेलाडीको बिमा सम्बन्धित विभागले नै गरेको छ । बाँकी खेलाडीका लागि उपयुक्त कार्यविधि बनाएर बिमा अनिवार्य गर्नुपर्नेछ,’ उनले थपे, ‘मैले यसै वर्ष खेलाडीको बिमाका लागि प्रयास गरेको थिएँ । यस वर्ष हाम्रो बजेट पनि उल्लेख्य कटौती भएको हुनाले बिमा कार्यक्रममा सबै खेलाडी समेट्ने सम्भावना नहुन सक्छ । छिट्टै बिमालाई प्राथमिकता दिनेछौं ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा करातेका साग स्वर्णधारी दीपक श्रेष्ठ लामो समयदेखि बिमाको आवाज उठाइरहे पनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गर्छन् । उनका अनुसार सरोकारवाला निकाय र स्वयं खेलाडीमा पनि बिमाप्रतिको सचेतना नहुनुले यो समस्या निम्तिएको हो । ‘हामीले लामो समयदेखि खेलाडीको बिमाका लागि आवाज उठाउँदै आएका छौं तर कार्यान्वयन भएको छैन । बल्ल प्रतियोगिताअनुसार बिमा हुन थालेको छ । खेलकुद मन्त्रालयमा कुरा गर्दा हरेक वर्ष खेलाडीको बिमाका लागि बजेट आएको भनिन्छ तर अहिलेसम्म बिमा कार्यक्रम सञ्चालन भएको छैन । राष्ट्रिय खेलाडीको नै बिमा छैन,’ उनले भने ।
श्रेष्ठले खेलाडीको बिमा कार्यक्रममा तत्काल सबैलाई समेट्न सम्भव नभए कम्तीमा राष्ट्रिय टोलीका खेलाडी र पुराना अन्तर्राष्ट्रिय खेलाडीलाई समेट्नुपर्ने बताए । ‘बिमा कार्यक्रम लामो अवधिका लागि हुन्छ । राष्ट्रिय टिममा रहेर खेलिरहेका र केही पुराना खेलाडीलाई समेत बिमा कार्यक्रममा समावेश गर्दा प्रभावकारी हुनसक्छ,’ बिमा कार्यक्रमका लागि वैकल्पिक सुझावका रूपमा उनले थपे, ‘हाम्रो देशमा अधिकांश खेलाडी खेललाई नै करिअर बनाउँछु भनेर आएका हुँदैनन् । करिअरकै बीचमा पलायन हुने खेलाडीलाई बिमा कार्यक्रमको अर्थ रहँदैन । राष्ट्रिय टोलीबाट केही समय योगदान दिएका र लामो समयसम्म रहने क्षमताका खेलाडी पहिचान गरी समेट्न सकिन्छ । केही पुराना खेलाडीलाई पनि समावेश गर्नुपर्छ । लामो समयदेखि खेलेका पुराना खेलाडीको हकमा बिमाले सामाजिक सुरक्षाको काम गर्छ । नयाँ प्रतिभाका लागि प्रतियोगितापिच्छे बिमा हुन्छ ।’

खेलकुद

सन्दीपको समर्थनमा पूर्व भारतीय खेलाडी

- कान्तिपुर संवाददाता

नयाँदिल्ली (एजेन्सी)– आखिरमा धेरै उतारचढावपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरुमा कुनै शंका रहेन । शनिबारदेखि प्रतियोगिता यूएईमा सुरु हुँदै छ ।
अहिलेसम्म जति पनि सम्भावना भएको टिम मानिए पनि दिल्ली क्यापिटल्सले प्रतियोगिता जित्न सकेको छैन । यस्तोमा यो तथ्य दिल्लीको समर्थकका लागि निराशाजनक छ । प्रत्येक नयाँ सिजन सुरु हुनुअगाडि चर्चा हुने गर्छ, यसपल्ट दिल्लीले केही गर्ने सम्भावना हुन्छ । तर सिजनको अन्त्यमा खाली निराशा मात्र हात लाग्ने गर्छ ।
सन् २०१८ को सिजन त दिल्लीका लागि निकै खराब रह्यो, लिग चरण समाप्तिमा यो टिम सबैभन्दा पुछारमा थियो । यो टिमसँग सम्बन्धित सबैले एक आपसमा यही प्रश्न गरेका थिए, ‘हामी कहाँनिर नराम्रोसँग चुक्यौं त ?’ जति मुख उति कारण भने जस्तै, दिल्लीको खराब प्रदर्शन पछाडि हजार कारण थिए, तर टिमको प्रदर्शन सुधारका लागि पनि हजार उपाय प्रस्तुत भए । कम्तीमा गत सिजन दिल्लीका लागि त्यति खराब रहेन । कम्तीमा टिमले फाइनल प्रवेशको सम्भावना त कायम राख्यो । अब यसपल्ट दिल्लीको क्रिकेट घेरामा चर्चा हुन सुरु भइसकेको छ, सन् २०२० को सिजन दिल्लीका लागि हुन सक्छ र यो दाबी पछाडि बलियो कारण उत्तिकै छन् । सबैको नजर सन्दीप लामिछानेमा पनि छ । केही भन्छन्, नेपालका यी लेग स्पिनरले टिममा मौका नै पाउने छैनन् । फेरि अर्काथरी के पनि भन्छन् भने दिल्लीलाई अहिलेसम्म हात नपरेको सफलता दिलाउने खेलाडी भनेकै यी त हुन्, सन्दीप ।
केही भारतीय मिडियाले दिल्लीको सम्भावनालाई लिएर क्रिकेट पण्डितहरूसँग कुरा गरेका छन् । त्यसमध्ये केही अविश्वसनीय रूपमा सन्दीपको पक्षमा छन् र तिनले खुलेर उनको समर्थनमात्र गरिहेका छैनन्, भनिरहेका छन्, ‘यी खेलाडी गज्जबका छन् ।’ सन्दीपले यति धेरै प्रशंसा बटुल्नु पछाडिको एउटा प्रमुख कारण हो, भर्खर सकिएको क्यारेबियन प्रिमियर लिग (सीपीए) मा राम्रो गर्नु । जमैका तलाबाजका लागि उनी सर्वाधिक विकेट लिने दोस्रो खेलाडी थिए ।
भारतका पूर्व अलराउन्डर अजित अगारकर मान्छन्, सन्दीप दिल्लीले खेलाउनुपर्ने चार प्रमुख विदेशी खेलाडीमध्ये एक हुन् । यस्तै राय छ, अर्का पूर्व खेलाडी आकाश चोपडाको । तय छ, सन्दीपले सुरुआती ११ मा पर्नका लागि दक्षिण अफ्रिकाका कागिसो राबडा, वेस्ट इन्डिजका सिमरन हेटमायर र अस्ट्रेलियाका डानियल स्याम्सबाट चर्को प्रतिस्पर्धा सामना गर्नुपर्नेछ । सन्दीपसँग प्रतिस्पर्धा गर्नेमा एनरिक नोर्टेज, मार्कस स्टोइनिस र किमो पाउल पनि हुनेछन् । यस्तै अर्का पूर्व भारतीय खेलाडी दीपदास गुप्ता पनि सन्दीपको पक्षमा छन् । अझ अगारकरले त सन्दीपलाई प्रतियोगितामा दिल्लीकै लागि सबैभन्दा बढी ‘ब्रेक थु’ स्टार हुनसक्ने खेलाडी मान्छन् । उनी भन्छन्, ‘सन्दीप निकै अब्बल दर्जाका खेलाडी हुन् र उनको उपस्थितिले टिमको प्रदर्शनमा धेरै फरक पर्न सक्छ ।’ केही भारतीय पत्रकार पनि सन्दीपलाई के मान्छन् भने उनले दिल्लीका लागि पर्याप्त खेल्न पायो भने त्यो टिमकै फाइदामा हुनेछ ।
यिनै पूर्व खेलाडी र पत्रकार के पनि मान्छन् भने दिल्लीको टिमको ‘डेथ बलिङ’ भने कमजोर छ अर्थात इनिङ्सको अन्त्यतिर कसिकसाउ बलिङ गर्नसक्ने बलरको कमी छ, दिल्ली टिममा । पूरा टिमकै कुरा गर्ने हो टिमको सबैभन्दा बलियो पक्ष बलिङमै छ र त्यो हो, टिममा रहेका चार स्पिनर । क्रिकेट विश्लेषकहरू के मान्छन् भने यसपल्टको प्रतियोगितामा दिल्लीमा जत्तिको गतिला स्पिनर अन्यत्र छैनभन्दा पनि हुन्छ । यूएईको पिचमा धेरै ‘टर्न’ हुन्छ भने त्यसमा दिल्लीले खेलाउन हुने सबैभन्दा राम्रो विकल्प भनेकै सन्दीप हुन सक्ने छन् ।
फेरि यूएईको पिचको स्वभाव भारतीय पिचको तुलनामा धेरै फरक मानिन्छ । त्यहाँको पिचले स्पिनरलाई नै बढी सहयोग गर्ने मानिन्छ । धेरैभन्दा धेरै सम्भावना छ, दिल्लीले सकेसम्म बढी स्पिनरलाई खेलाउने । यस्तोमा सन्दीपले भारतीय टिमबाट खेलिरहेका अक्षर पटेलसँग कडा प्रतिस्पर्धा गर्न सक्नुपर्नेछ । अनि टिमले उपाधि जित्ने सम्भावना ? चोपडा दिल्लीकै खेलाडी हुन् । उनी मान्छन्, दिल्ली शीर्ष चारमा पर्ने मात्र छैन, यसले उपाधि जित्ने सम्भावना प्रचुर छ । उनी एक प्रकारले यसमा आत्मविश्वासी देखिन्छन् ।

खेलकुद

अघि बढेन गौरीटारको पूर्वाधार निर्माण

- सुवास बिडारी

नेपाली खेलकुदको ड्रिम प्रोजेक्टका रूपमा हेटौंडा–६, गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को भौतिक पूर्वाधार निर्माण कार्य अलपत्र परेको छ ।
चैत ११ देखि सुरु भएको लकडाउनको बहाना देखाउँदै ठेकेदार पक्षले काम अगाडि नबढाउँदा गत वर्ष निर्माण सुरु भएको फुटबल मैदान र एथलेटिक्सको ट्र्याक एन्ड फिल्डसहितको काम अलपत्र परेको हो ।
गत आर्थिक वर्ष २०७६/७७ मा प्यारापिट निर्माणका लागि टेण्डर आह्वान हुनुपर्ने भए पनि प्रदेश सामाजिक विकास मन्त्रालयले आन्तरिक तयारी पूरा नभएको भन्दै उक्त कार्य अगाडि बढाउन सकेको छैन ।
२३ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको भए पनि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम नहुँदा अन्य भौतिक पूर्वाधार निर्माण अगाडि बढाउन नसकिएको मन्त्रालयले जनाएको छ ।
‘प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा ईआईए प्रतिवेदन निर्माण गर्न २ करोड रुपैयाँ विनियोजन गरेको छ । यसका लागि वन मन्त्रालयलाई काम अगाडि बढाउन आग्रहसमेत गरिसकेका छौं,’ वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख खुबीराम अधिकारीले भने ।


गौरीटारमा भौतिक पूर्वाधार निर्माण गर्नका लागि प्रदेश सरकारले चालु आवमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘गौरीटार प्रदेश सरकारको बहुवर्षे आयोजना हो । यसका लागि गत वर्ष प्यारापिट निर्माणका लागि विनियोजन गरिएको १० करोड रुपैयाँ बाँकी नै रहेको छ,’ महाशाखा प्रमुख अधिकारीले भने ।
उनका अनुसार ईआईए प्रतिवेदन तयार भएसँगै बाँकी कामका लागि टेण्डर आह्वान गरिने बताए । ‘गौरीटारलाई बजेटको अभाव हुँदैन । मन्त्रालयले काम नहुने क्षेत्रको बजेटलाई रकमान्तरण गरेर भए पनि रंगशालाको काम अगाडि बढाइने छ ।’
गिरी कस्ट्रक्सनले ट्र्याक एन्ड फिल्डसहित फुटबल मैदान निर्माण पुस महिनाभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरे पनि तोकिएको समयमा काम सम्पन्न नभएपछि वाग्मती प्रदेश खेलकुद परिषद्ले पुनः तीन महिनाको समय थप गरेको थियो । ‘चैत महिनामा सम्पन्न हुनुपर्ने थियो तर भएन,’ परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले भने, ‘बाँकी काम छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि ताकेता गरिरहेका छौं ।’
रंगशालाको प्राविधिक पक्षको अनुगमन गर्ने सामाजिक विकास मन्त्रालयअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन इकाईका अनुसार रंगशालाको हाल भइरहेको भौतिक पूर्वाधार निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको भए पनि मैदानको उत्तरतर्फ ट्र्याक एन्ड फिल्डको काम सुरु नै भएको छैन । ‘भारतबाट दुबो ल्याउनुपर्ने भनिए पनि मैदानमा ट्र्याक निर्माणको काम नेपाली कामदारले नै गर्न सक्छन् । त्यो पनि भएको छैन,’ आयोजना प्रमुख सुकदेव सापकोटाले भने । उनले ठेकेदार पक्षसँग कसरी समन्वय गर्ने भन्ने विषयमा मन्त्रालयसँग छलफल भइरहेको बताए । ‘ठेकदार पक्षलाई कारबाही गर्ने वा कसरी अगाडि बढ्ने भन्ने विषयमा मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले थपे ।
सदस्य–सचिव भण्डारीले २० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्न पुनः टेन्डर आह्वान गर्ने तयारी भए पनि ईआईए प्रतिवेदन प्राप्त नहुँदासम्म टेन्डर गर्न नसकिएको बताए । ‘डीपीआर निर्माण गर्दा नै ईआईए गर्नुपर्ने थियो । त्यो नहुँदा अहिले समस्या सिर्जना भयो,’ भण्डारीले भने । उनका अनुसार प्यारापिट निर्माण गर्न पहिलो पटक टेन्डर आह्वान गरिएको भए पनि ठेकेदार पक्षले काम गर्न नसक्ने देखिएपछि टेन्डर रद्द गरिएको थियो ।


उनका अनुसार गौरीटारमा क्रमशः फुटबल मैदान, कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन
कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गरिनेछ । उद्घाटनको समयमा करिब ५ अर्ब रुपैयाँको लगानी लाग्ने अनुमान गरिए पनि अहिले उक्त लागत दोब्बर भइसकेको अनुमान परिषद्को छ ।
२०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गौरीटार एकेडेमीको शिलान्यास गरेका थिए । हालसम्म गौरीटारमा संघीय सरकारले करिब ८ करोड रुपैयाँ खर्च गरिसकेको छ ।