You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 3
मुख्य पृष्ठ

एक बिरामीलाई २ लाख !

- अमृता अनमोल

(बुटवल) - लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म ५० करोड ६० लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । जुन प्रदेशअन्तर्गतका अस्पताल, प्रयोगशाला र स्वास्थ्य कार्यालयमा उपकरण, औषधि एवं स्वास्थ्यकर्मीको जोखिम भत्तामा खर्च भएको हो । यसमध्ये २० करोड ९९ लाख २० हजार रुपैयाँ कोरोना कोषबाट खर्च भएको छ ।
सरकारी खर्चअनुसार कोरोना उपचार, रोकथाम र नियन्त्रण भने प्रभावकारी हुन नसकेको गुनासो छ । जटिल खालका बिरामीले उपचार अभावमा ज्यान गुमाएका छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएर छटपटाउँदाछटपटाउँदै १५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । संक्रमित बढेपछि प्रदेशमा दुई महिनायता लक्षण देखिएका बिरामीलाई पनि निःशुल्क स्वाब परीक्षण गर्न छोडिएको छ । कोरोना सर्ने प्रबल सम्भावना रहेका यात्रा इतिहास भएका व्यक्तिलाई पनि पीसीआर परीक्षण गरिएको छैन ।
१२ जिल्लाका जटिल खालका बिरामीलाई उपचार गर्न प्र्रदेशमा चारवटा कोरोना अस्पताल सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयका सहायक लेखापाल कृष्णबहादुर पौडेलका अनुसार ती अस्पताल व्यवस्थापन र सञ्चालनमा प्रदेश सरकारले अहिलेसम्म २१ करोड ६१ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेशमा शुक्रबार दिउँसोसम्म १४ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये कोरोना अस्पतालमा १ हजार ८५ जनाले मात्रै उपचार गराएका छन् । अस्पतालमा भर्ना भएका ६६ जनाको मृत्यु भएको छ । यस हिसाबले एक जना बिरामी बराबर प्रदेश सरकारले १ लाख ९९ हजार २ सय ७ रुपैयाँ लगानी गरेको छ ।
बुटवल, भैरहवा, दाङ र बाँकेमा रहेका कोरोना अस्पतालमा जम्मा १ सय ९५ बेड मात्रै छन् । चारवटै अस्पतालमा गरेर ३४ आईसीयू, ३३ मोनिटर र १२ वटा भेन्टिलेटर रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । जसमध्ये ७ वटा भेन्टिलेटर मात्रै सरकारले व्यवस्थापन गरेको हो । बुटवलमा रहेका ४ वटा भेन्टिलेटर र ८ वटा आईसीयू गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले दिएको हो । बाँकी एउटा भेन्टिलेटर लुम्बिनी प्रादेशिक अस्पतालमा यसअघिदेखि नै सञ्चालनमा थियो ।
सरकारले कोरोना अस्पतालमा लगानी बढाइरहेको बताए पनि धेरै संक्रमित बेड अभावले र जटिल खालका संक्रमित महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । सामाजिक विकासमन्त्री सुदर्शन बरालले जटिल खालका बिरामीलाई मध्यनजर गर्दै बुटवलस्थित कोरोना अस्पतालको क्षमता विस्तार थालिएको बताए । ‘हाइडिपेन्डेन्सी युनिटका ३० र अक्सिजन पाइपलाइनयुक्त ५० बेड थप गर्दै छौं,’ उनले भने, ‘तर धागो कारखानाभित्रको जग्गामा अस्पताल विस्तार गर्दा उद्योग विभागको स्वीकृति लिनुपर्नेलगायत कारणले केही ढिलाइ भएको छ ।’
यसअघि सामाजिक विकास मन्त्रालयले भैरहवाको भीम अस्पतालमा आईसीयू र हाइडिपेन्डेन्सी युनिट विस्तार गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावमा भने प्रदेश मन्त्रिपरिषद्मा सहमति जुटेन । मुख्यमन्त्री एवं आर्थिक मामिला योजनामन्त्री शंकर पोखरेलले भीम अस्पतालमा सेवा विस्तार गर्ने प्रस्ताव ठाडै अस्वीकार गरेपछि बुटवलमा क्षमता बढाउन लागिएको हो । सरकारका प्रवक्ता बैजनाथ चौधरीले दसैंतिहारको बीचमा जटिल खालका संक्रमित बढ्ने अनुमानसहित चुस्तदुरुस्त सेवा दिने ठाउँमा अस्पतालको सेवा बढाउन लागेको बताए ।
कोरोना अस्पतालमा खट्ने स्वास्थ्यकर्मी एवं चिकित्सकको जोखिम भत्ताका लागि मात्रै १० करोड ९८ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । कोरोना उपचारमा खट्ने स्वास्थ्यकर्मी एवं चिकित्सकका लागि शतप्रतिशत भत्ता दिने मापदण्ड छ । अस्पतालमा एक्सरेलगायत विभाग र आकस्मिक कक्षमा खट्नेलाई ७५/७५ प्रतिशत र अन्यलाई ५० प्रतिशत भत्ता तोकिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भने कोरोना उपचारमा खटिएका चिकित्सकको साटो अस्पतालका कर्मचारीले नै कोरोना भत्ता लिएपछि छानबिन भइरहेको छ ।
प्रदेशमा हालसम्म ४ हजार ३ सय ३ जना कोरोना संक्रमित घरमै आइसोलेसन बसेका छन् । त्यसमध्ये ४ जनाको मृत्यु भएको छ । अहिले पनि २ हजार १ सय ६५ जना होम आइसोलेसनमै छन् । तिनमा सरकारी लगानी, निगरानी र हेरचाह छैन । होम आइसोलेसनमा बस्नेलाई आइसोलेसन अवधिभर एक पटक पनि फोन सम्पर्क गरिएको छैन । ‘उच्च ज्वरो आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराएँ । पोजिटिभ रिपोर्ट देखियो । १४ दिन घरमै बसें,’ सिद्धार्थनगर नगरपालिका–६ की सुस्मिता पाण्डेले भनिन्, ‘तर कसैले एक पटक फोन गरेर के भयो पनि भनेनन् ।’
यहाँका ७ वटा निजी अस्पतालमा कोरोना उपचार हुन्छ । ती अस्पतालले ४ सय ३ बेड कोरोना उपचारका लागि
छुट्याएका छन् । तिनमा अहिलेसम्म ४ सय ३ जनाले उपचार गराएका छन् । यसमा पनि सरकारी लगानी छैन ।
प्रदेश सरकारले रूपन्देहीको भैरहवामा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । उक्त प्रयोगशाला व्यवस्थापन र सञ्चालनमा मात्रै ३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका इन्चार्ज प्रेम यादवले प्रयोगशालामा अहिलेसम्म करिब ३० हजार बढी नमुना परीक्षण भएको बताए । चारवटा कोरोना अस्पताल खोल्न प्रदेश सरकारले गत चैत १०
गते २/२ करोडका दरले ८
करोड रुपैयाँ निकासा दिएको थियो । त्यसबाहेक २१ करोड ६१ लाख ४० हजार र कोरोना कोषबाट २० करोड ९९ लाख २० हजार गरी अहिलेसम्म ५० करोड ६० लाख ६० हजार रुपैयाँ खर्च गरेको छ ।
प्रदेशअन्तर्गतका १३ अस्पताल, १२ जिल्ला स्वास्थ्य कार्यालय र १२ वटा आयुर्वेद अस्पताल छन् । तिनमा समेत माग र आवश्यकताका आधारमा रकम गएको सामाजिक विकासमन्त्री बरालले बताए । ‘कोरोना उपचार र अस्पताल सञ्चालनमा जुनसुकै समयमा रकम आवश्यक परे माग गर्न सक्ने र रकम दिने व्यवस्था गरेका छौं,’ उनले भने ।
सरकारको नियमित अनुगमन र निगरानी नहुँदा अन्य अस्पतालमा कोरोना रोकथाममा गएको रकम पनि नतिजा दिने गरी खर्च भएको छैन । मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण खरेलले सरकारले उपचारका नाममा उपकरण थुपारे पनि दक्ष जनशक्ति भर्ना र सहजीकरण गरेर काम गर्न नसकेको बताए । ‘सरकारले कोरोना रोकथामका लागि भन्दै अस्पतालहरूमा लगानी गरेको गर्‍यै छ,’ उनले भने, ‘अब प्रतिफल हेरेर लगानी गर्नुपर्छ ।’

 

मुख्य पृष्ठ

स्वदेश फर्केकाले पाएनन् काम

- होम कार्की

(काठमाडौं) - कोभिड–१९ महामारीअघि दिनमा जति नेपाली श्रम गर्न खाडी मुलुक र मलेसिया जान्थे, त्यति नै संख्यामा स्वदेश फर्किरहेका हुन्थे । यसले नेपालको श्रम शक्ति र
रेमिट्यान्सलाई सन्तुलनमा राखेको थियो । महामारीपछि भने बाहिर गएकाहरू आउँछन् मात्रै, जान पाइँदैन । त्यसरी फिरेकाहरू पनि आन्तरिक श्रम बजारमा पुनःस्थापना हुन सकेका छैनन् । सीप सिकेर फर्केका श्रमिकलाई रोजगारीसँग जोड्ने योजना सरकारसँग नहुँदा कमाइ दैनिक गुजारामै सकिने चिन्ता उनीहरूमा देखिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समितिका अनुसार बिहीबारसम्म ३२ देशबाट १ लाख ७ हजार ६ सय ९१ जना फर्केका छन् । तीमध्ये खाडी र मलेसियाबाट आएका मात्रै ९३ हजार ६ सय ४१ जना छन् । मौसमी श्रमिकका रूपमा भारत गएकामध्ये करिब सात लाख फर्केका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोभिड–१९ का कारण २०२२ पछि मात्रै श्रम बजार सामान्य बन्ने अनुमान छ । प्रमुख गन्तव्य मुलुकमा अवस्था सामान्य भएपछि मात्रै नेपालीका लागि नयाँ रोजगारीको बाटो खुल्ने अवस्था रहेको दूतावासहरू बताउँछन् । ‘अहिले आन्तरिक श्रम बजारमा झन्डै १४ लाखसम्म रोजगारी सिर्जना गर्न चुनौती छ,’ मध्यपूर्व गैरआवासीय नेपाली संघको सम्मेलनमा शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन्, ‘सरकार बाध्यताले वैदेशिक रोजगारीमा जाने क्रम अन्त्य गर्ने अभियानमा छ ।’ सीप सिकेर स्वदेश फर्केका नेपालीको पूर्ण विवरण भने सरकारसँग छैन ।
स्वदेश फर्केकालाई कसरी उत्पादन र रोजगारीमा जोड्ने मुख्य चुनौती रहेको मलेसियाका लागि नेपाली राजदूत
उदयराज पाण्डेले बताए । ‘प्रत्येक व्यक्तिसँग ज्ञान र सीप त छ तर त्यसलाई कसरी मान्यता दिने ?’ उनले भने, ‘मलेसियामा घुमाउरो सुरुङ खन्नुपर्दा नेपालीको
समूह विशेषज्ञका रूपमा प्रयोग हुन्छ । त्यही समूह नेपाल गए सामान्य श्रमिक भइदिन्छ ।’ प्यूठानका लक्ष्मण भण्डारी संयुक्त अरब इमिरेट्स (यूएई) मा
स्काफ्फोल्डिङको काम गर्थे । घर फर्केपछि अहिले कामविहीन भएर बस्नुपरेको उनले सुनाए । ‘उता सिकेको सीप यता सदुपयोग गर्न पाइएन,’ उनले भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले मुलुकको श्रमयोग्य जनशक्ति (दक्ष, अर्धदक्ष र अदक्ष) वा श्रमिकको वैयक्तिक विवरण एकीकृत स्वरूपमा नरहेको बताए । ‘रोजगारीका अवसर र सीपमूलक तालिमबीच तादात्म्य हुन सकेको छैन । रोजगारदाताका लागि सीपयुक्त जनशक्ति र शैक्षिक वा सीपमूलक तालिमबीच सामञ्जस्य छैन,’ उनले भने, ‘यी लगायतका समस्यालाई निराकरण गर्न श्रम सूचना बैंक कार्यान्वयनमा ल्याइएको छ ।’
आर्थिक सर्वेक्षणअनुसार हरेक वर्ष श्रम बजारमा पाँच लाख श्रमशक्ति आउँछ । वैदेशिक रोजगारीमा जाने क्रम रोकिएकाले यसको भार आन्तरिक बजारमा बढेको छ । श्रमशक्ति सर्वेक्षणअनुसार झन्डै ९ लाख बेरोजगार छन् । ‘हामीले खाडी र मलेसियाबाट तीन लाख नेपालीले रोजगारी गुमाएर फर्किने अनुमान गरेका थियौं । अनुमानभन्दा कम नै असर पर्ला जस्तो छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अहिले नै कोभिड–१९ बाट पूर्ण रूपमा मुक्ति पाइयो भन्ने अवस्था छैन । भोलि थपले पनि रोजगारी गुमाउनुपर्ने हुन सक्छ ।’
आर्थिक वर्ष ०७७/७८ को बजेटले ७ लाख ३४ हजार थप रोजगारी सिर्जना गर्ने योजना ल्याएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख, गरिबी निवारण कोषद्वारा ६४ जिल्लामा सञ्चालित कार्यक्रमबाट कृषि, लघु र साना उद्योगमा १ लाख ५० हजार, गरिबका लागि लघु उद्यमबाट १ लाख २७ हजार, साना किसान विकास र लघुवित्त कर्जाबाट ४० हजार, वन पैदवार क्षेत्रमा ३० हजार र युवा स्वरोजगार कोषबाट थप १२ हजार, श्रम सूचना बैंकबाट ५० हजार जनालाई रोजगारी दिने कार्यक्रम छ । तर कोबिड–१९ का कारण यी क्षेत्रमा विदेशबाट आउनेलाई सरकारले जोड्न सकेको छैन ।
सबैभन्दा धेरै रोजगारी दिने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ सय १७ जना मात्रै रोजगारीमा जोडिएका छन् । यो कार्यक्रम प्रभावकारी नभएको भन्दै विवादमा पर्‍यो । यसमा आबद्ध हुन भने ६ लाख १४ हजार ८ सय १५ जना बेरोजगार युवा सूचीकृत भएका थिए । जसमा २ लाख ५९ हजार जना महिला छन् । ‘कोभिड–१९ ले कार्यक्रम प्रभावित भइरहेको छ । हामीले जुन लक्ष्य राखेका छौं, त्यसलाई स्थानीय सरकारले पूरा गर्छ भन्ने विश्वास छ,’ कार्यक्रम निर्देशक सुमन घिमिरेले भने ।
बजेटमा कृषि क्षेत्रमा काम र रोजगारी वृद्धि गर्न सामूहिक खेतीलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीबाट फर्केकालाई कृषि कार्यका लागि जग्गा उपलब्ध गराउन भूमि बैंक स्थापना गरिएको छ । कार्यान्वयन भने एकदमै फितलो छ । श्रम मामिलाका विज्ञ प्रभावकारी कार्यक्रम दिनका लागि कार्यान्वयन गर्ने संरचनासहितको नीति आउनुपर्ने बताए । ‘कार्यान्वयन गर्ने संरचना नभएर नीति फेल भइरहेको छ,’ राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका उनले भने ।

Page 4
समाचार

आज घटस्थापना

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– बडादसैं सुरु भएको छ । पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मा परेको छ । शुभसाइतमै हनुमानढोका दरबारस्थित दसैंघरमा घटस्थापना गर्ने चलन छ ।
आजैदेखि दसैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहान नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्वक राखेर त्यसमा थिजौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रिभर प्रत्येक दिन श्रद्धालुहरू बिहान सबेरै एक/एक तीर्थमा गई स्नान गरी शक्तिपीठहरूमा पूजा आराधना गरी नजिकको शिवलिंगलाई अर्घ्य दिने गर्छन् ।
कात्तिक ७ गते शुक्रबार फूलपातीलाई हर्षबढाइँ गर्दै डोलीमा राखेर ल्याई हनुमानढोका दरबारस्थित दसैंघरमा भित्र्याइन्छ । त्यस अवसरमा राष्ट्रपति हनुमानढोका नासलचोकमा हुने पूजा कार्यक्रम सरिक हुने परम्परा छ । तर, यस वर्ष कोरोना महामारीका कारण राष्ट्रपति उपस्थित नहुने विश्व युवा हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले बताए । महानवमीका दिन घटस्थापना गरेको ठाउँ तथा विभिन्न शक्तिपीठ र कोतमा हाँस, कुखुरा, बोका तथा राँगा बलि चढाई पूजा गरिन्छ । विजयादशमीको टीकाको साइत कात्तिक १० गते बिहान १० बजेर ११ मिनेटदेखि १० बजेर १९ मिनेटसम्म रहेको छ । त्यसै दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने परम्परा छ ।

समाचार

दसैंमा घान्द्रुक जान रोक

- कान्तिपुर संवाददाता


पोखरा (कास)– कास्कीको पर्यटकीय स्थल घान्द्रुकका गाउँवासीले दसैंतिहारजस्ता चाडपर्व घरमै मात्र मनाउने निर्णय गरेका छन् । घान्द्रुक पर्यटन समितिको बिहीबारको बैठकले आफूहरू टीका थाप्न बाहिर नजाने र बाहिरबाट पनि कसैलाई आउन नदिने निर्णय गरेको हो । ‘हामी मावली, ससुराली पनि टीका थाप्न नजाने,’ समितिका अध्यक्ष किसम गुरुङले भने, ‘भान्जाभान्जी, छोरीज्वाइँ कसैलाई पनि नआउन भनिएको छ ।’
बिरामी र अन्य अत्यावश्यक कामबाहेक पोखरासमेत नजाने बैठकको निर्णयमा उल्लेख छ । अध्यक्ष गुरुङका अनुसार समितिको निर्णयलाई घान्द्रुकका सबै टोलमा पुगेर जानकारी गराउने अभियान थालिएको छ । बिहीबार मात्रै दुई टोलमा यो अभियान सकिएको छ । ‘घान्द्रुकमा अहिलेसम्म कोरोना छैन,’ उनले भने, ‘बाहिरी व्यक्ति (आफन्त र इष्टमित्रसमेत) लाई प्रवेश दिइयो भने फैलने डर भयो । त्यसैले रोक लगाउनका लागि यस्तो निर्णय गरेका हौं ।’
स्थानीय व्यवसायी कृष्ण गुरुङका अनुसार दसैंका बेला आफन्तलाई पनि नबोलाउने निर्णय भएको बताए । ‘आफन्तबाट पनि कोरोना गाउँमा भित्रिन सक्ने अवस्था रह्यो,’ उनले भने, ‘यसअघिको गाउँमा कसैलाई पनि प्रवेश गर्न नदिने निर्णयलाई निरन्तरता दिएर यस्तो अभियानमा लागेका हौं ।’ साबिकको घान्द्रुक गाविस अहिले अन्नपूर्ण गाउँपालिका–१० र ११ वडामा कायम भएको छ ।
कोरोना संक्रमण कम नभएको भन्दै असोजको पहिलो दिनदेखि नै होटल नखोल्ने निर्णय पर्यटन व्यवसायीले गरेका थिए । होटल र रेस्टुरेन्ट नखोल्ने उक्त निर्णयलाई बिहीबारको बैठकले अनिश्चितकालीन भन्दै निरन्तरता दिएको छ । कोरोना महामारी नसकिएकाले तत्काल होटल र होमस्टे सञ्चालन गर्दा गाउँमा कोरोना भित्रिन सक्ने सम्भावना देखिएको समितिका अध्यक्ष गुरुङ बताउँछन् । पैसाभन्दा पनि ज्यान ठूलो भएकाले सबै व्यवसायीको ठहरपछि होटल सञ्चालनमा नल्याउने निर्णय गरिएको उनको भनाइ छ ।
पदयात्रा पर्यटनका लागि उपयुक्त अन्नपूर्ण आधार शिविर घोरेपानी–पुनहिल पुग्न घान्द्रुक हुँदै जानुपर्छ । स्याउली बजारदेखि मुख्य गाउँ घान्द्रुकसम्म ५ दर्जन होटल र केही होमस्टे सञ्चालनमा रहेकामा सबै बन्द छन् । गाउँ प्रवेश गर्ने नाका सादी खोलामा स्थानीय युवा क्लबका सदस्य राखेर दैनिक जाँच हुने गरेको छ । बाहिरबाट जानेलाई ती युवाले रोकिदिन्छन् । ‘दैनिक ३/४ युवा सीमामा खटिन्छन्,’ व्यवसायी कृष्ण गुरुङले भने, ‘यो अरू केही नभएर कोरोनाबाट गाउँ जोगाउने उद्देश्य मात्र हो ।’

Page 5
समाचार

कर्णालीका नेता अलमलमा

- कान्तिपुर संवाददाता

(काठमाडौं) - वि वाद समाधान गर्न कर्णाली प्रदेशबाट काठमाडौं बोलाइएका नेताहरू नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताले अलमल्ल परेका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलभित्रै अविश्वासको प्रस्ताव आएपछि कस्सिएको विवादको गाँठो फुकाउन ओली र दाहालले दुवै पक्षलाई काठमाडौं झिकाएका थिए । बुधबार र बिहीबार आइपुगेका उनीहरूले कर्णालीको विवादका विषयमा अध्यक्षद्वयसँगै बसेर छलफल गर्न पाएका छैनन् ।
केन्द्रीय कार्यालयबाट गरिएको पत्राचारबमोजिम मुख्यमन्त्री शाही र नेकपा सहइन्चार्ज यामलाल कँडेलका छुट्टाछुट्टै टोली बिहीबार केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए । उनीहरूले केहीबेर कुर्दा पनि अध्यक्षद्वय ओली र दाहाल धुम्बाराहीमा पुगेनन् । ‘उहाँहरूले २९ गतेभित्र आइपुग्नु भनेपछि हामी कार्यालयमा पुगेका हौं तर दुवै अध्यक्ष नआएपछि फर्कियौं,’ नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले कान्तिपुरसँग भने, ‘छलफलका लागि कतैबाट कुनै सूचना आएको छैन, दुई अध्यक्ष पनि सँगै बसेको जस्तो लाग्दैन ।’
कर्णालीबाट बोलाइएका नेता काठमाडौं आइनसक्दै बुधबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । त्यसपछि अध्यक्षद्वयबीच संवाद टुटेको छ । त्यसअघि उनीहरूले दिनहुँजसो भेट गर्दै आएका थिए । मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठनले केन्द्रीय अध्यक्षहरूमै चिसोपना बढेकाले आफूहरूसँग संयुक्त संवाद हुन नसकेको बताए । ‘पार्टी केन्द्रीय कार्यालयबाट पत्राचार भएपछि हामी काठमाडौं आयौं,’ उनले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनपछि पार्टीभित्र अलिअलि समस्या सिर्जना भएको र दुई अध्यक्षबीच नै संवाद स्थगित भएजस्तो देखिन्छ । उहाँहरूले बोलाएपछि छलफल गरेर कर्णाली जान्छौं ।’
दुवै अध्यक्षले संयुक्त रूपमा छलफल नगरे पनि कर्णालीका नेताहरूसँग कार्यकारी अध्यक्ष दाहालले छुट्टाछुट्टै कुराकानी गरेका छन् । उनले शुक्रबार बिहान कर्णालीका नेकपा सहइन्चार्ज कँडेल, सांसद गुलाबजंग शाह र कर्णाली प्रदेशका पार्टी सचिव मायाप्रसाद शर्मासँग छलफल गरेका थिए । ‘अध्यक्ष दाहालले ब्रिफिङ लिनुभयो, यामलालजीले अविश्वासको प्रस्ताव ल्याउनुपर्नाको कारण बताउनुभयो,’
शर्माले भने, ‘दुवै पक्षको कुरा सुनेपछि
उहाँले अध्यक्षद्वयबीच छलफल गरेर
निर्णय गर्छौं, तपाईंहरू मानेर जानुपर्छ भन्नुभएको छ ।’
दाहालसँगको छलफलमा कँडेलले आफूले पहिलेदेखि नै कर्णालीको हितमा काम गर्ने लक्ष्य लिएको र उक्त लक्ष्यअनुसार सरकार नचलेपछि अविश्वासको प्रस्ताव ल्याउनुपरेको बताएका थिए । ‘मैले आफ्नो प्रदेश निर्माणको रुचि पहिलेदेखि नै राखेकै हो,’ उनको भनाइ थियो, ‘तर काम पनि भएन, ढिलासुस्ती भयो, अनियमितता भयो, सबै साथीलाई चित्त बुझेको थिएन, सल्लाह गरेर यही निष्कर्ष निस्कियो, विधिसम्मत् तरिकाले अविश्वासको प्रस्ताव दर्ता गरेका हौं ।’ त्यसपछि दाहालले उक्त निर्णय समय, परिवेश र परिस्थितिका हिसाबले प्रतिकूल भएको टिप्पणी गरेका थिए । पार्टी एकताको कामसमेत नसकिएको अवस्थामा यस्ता गतिविधि हुँदा समझदारीभन्दा बाहिर जान नहुने उनको भनाइ थियो ।
‘कर्णालीको समस्या पूर्वएमाले र पूर्वमाओवादीका हिसाबले बाँडिएको विचारले निम्त्याएको छ । त्यसले पार्टी एकतालाई प्रतिकूल असर पार्छ,’ दाहालको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘पार्टीको स्थायी कमिटी बैठकमा संघ र प्रदेशका सबै सरकारलाई आवश्यकताका आधारमा आंशिक या पूर्ण रूपमा पुनर्गठन गर्ने कुरा भएको छ, यसलाई हामी दसैंपछि लागू गर्ने तयारीमा थियौं । तर तपाईं हतारिनुभयो । यसले सबैतिर आशंका र अविश्वास पैदा गर्‍यो ।’ त्यसअघि शाहीलगायत दाहाल र नेपाल पक्षीय नेताहरूले बिहीबार नै अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग खुमलटारमा छलफल गरेका थिए ।

समाचार

सक्रिय उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण

- अतुल मिश्र

(काठमाडौं) - काठमाडौंमा २१ देखि ४० वर्ष उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण देखिएको छ । यो उमेर समूहका व्यक्ति धेरै चलायमान हुने भएकाले उनीहरूमा बढी संक्रमण देखिएको हो ।
कुल १२६१३७ संक्रमितमध्ये ४१८५५ जना अर्थात् ३३.१२ प्रतिशत, ३७३८२ जना सक्रिय संक्रमितमध्ये ४४.१५ प्रतिशत र कोभिडबाट मृत्यु भएका ७१५ जनामध्ये २१.५३ प्रतिशत काठमाडौं जिल्लाका छन् ।
वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार सबैभन्दा सक्रिय उमेर समूहमा बढी संक्रमित देखिनुले यसको व्यापकता र जटिलता दुवै देखाउँछ । ‘यो डरलाग्दो तथ्यांक हो, नेपालले आफ्नो सारा अवसर गुमायो, दक्षिण एसियामा सबैभन्दा नराम्रो अवस्थामा पुग्ने डर भयो,’
उनले भने, ‘खास गरेर राजधानी काठमाडौं नै कोल्याप्स भयो भने देशभरिको अरू भाग त सबै कोल्याप्स हुन्छ ।’
काठमाडौं जिल्लामा काम गर्ने उमेर समूहअन्तर्गत २१ देखि ५० वर्षसम्मका कोभिड संक्रमित ७२.८२ प्रतिशत छन् । ‘दिनहुँ हजार–दुई हजारभन्दा बढी नयाँ कोभिड संक्रमित काठमाडौंमा देखिएका मात्र हुन्,’ उनले भने, ‘काठमाडौंमा संक्रमण भएर पनि पहिचान नभई घुमिरहेकाको संख्या कति छ कति । अब गम्भीर हुनुपर्ने स्थिति आइसक्यो ।’
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंमा कोभिड संक्रमण समुदायमा गइसकेको भए पनि आधिकारिक स्तरबाट प्रमाणित गर्न ‘सेरो प्रिभिलेन्स सर्भे’ को नतिजा पर्खनुपर्ने अवस्था छ । काठमाडौंमा कोभिड संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना भएको जनाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘कोरोना भाइरसको काठमाडौं केन्द्रबिन्दु भयो । पछिल्लो दुई महिनामा कोभिडका चार गुणा केस बढेको छ । आईसीयूको त के कुरा, जनरल बेड पनि पाउन नसकिने अवस्था आएको छ ।’
स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरूले समेत काठमाडौंमा कोभिड बिरामीका लागि बेड पाउन गाह्रो भएको, नपाइएको गुनासो बढ्दै गएपछि बाध्य भएर सबै सरकारी अस्पतालमा कोभिडको उपचार गर्न थालिएको बताए । उनीहरूले अझै बेडको समस्या कायमै रहेको जनाए ।
काठमाडौंका सबै अस्पताल कोभिड बिरामीले भरिइसकेको र ठाउँसमेत नरहेको जनाउँदै डा. वन्त भन्छन्, ‘हामीभन्दा श्रीलंका धेरै माथि थियो, सानो जनसंख्या भएको माल्दिभ्स अत्यन्त जोखिममा थियो, उसले रोक्यो । पाकिस्तान, बंगलादेशले रोके । भुटानले पनि राम्रो गर्‍यो । भारतले राम्रो गर्न नसके पनि त्यहाँ निको हुने दर बढी भएकाले संक्रमितको संख्या घट्दै छ तर हामी कहाँ थियौं र गलत नीतिले गर्दा कहाँ पुग्यौं ?’
चिकित्सक संघले पनि काठमाडौंलगायत देशभर कोभिड संक्रमित बिरामीहरूको उपचारका लागि अस्पतालहरूमा बेड, आईसीयू, भेन्टिलेटर, अक्सिजन र रेमडेसिभिरलगायत अत्यावश्यक औषधिहरूको अभावका कारण संक्रमितहरू सडकमा भौंतारिन बाध्य भएको जनाउँदै सहज उपलब्धताको माग गरेको छ । सरकारले काठमाडौंको कोभिड संक्रमणविरुद्घ चाँडै स्मार्ट एक्सन नलिए यसको प्रसार देशभरि हुने र थेग्न नसकिने अवस्था आउने विज्ञहरूले चेतावनी दिएका छन् । ‘अब सरकारले स्वास्थ्य उपचारको स्रोत र साधनलाई पाँच गुणा नबढाए भयावह अवस्था निम्तिन्छ,’ डा. कार्कीले भने, ‘बेड नपाएर घरकै आइसोलेसनमा, सडकमा भौंतारिएर संक्रमितहरू मर्न थाले ।’ विज्ञहरूले राजधानीमा कम्तीमा १० हजार जनालाई पुग्ने आइसोलेसन सेन्टर स्थापनासँगै, एउटा ठूलो अस्पताल र मेडिकल कलेजलाई पूर्ण कोभिड अस्पतालका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्यकर्मीलाई कोरोना देखिए मात्र आइसोलेसन
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय बैठकले कोभिड–१९ बिरामीहरूका उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै गरी यस्तो निर्णय गरिएको बताएका हुन् ।

समाचार

मृत्यु हुने ७ सय नाघे

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार ७ सय नाघेको छ । शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा हालसम्म मृतकको संख्या ७ सय १५ पुगेको छ ।
मोरङको विराटनगर–३ का ६५ वर्षीय वृद्धको शुक्रबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार साँझ उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी उच्च रक्तचापका दीर्घ रोगी थिए । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा पाल्पाको तानसेन–७ बर्तुङका ३३ वर्षीय युवकको मृत्यु भएको सूचना अधिकृत सुशील गुरुङले बताए । मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा गत मंगलबार संक्रमण पुष्टि भएको थियो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा रूपन्देहीको तिलोत्तमा–२ का ६७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । असोज २५ देखि आईसीयूमा भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो ।
प्रादेशिक अस्पताल सुर्खेतमा बिहीबार राति मृत्यु भएका गुर्भाकोट–२ का २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । बुधबार घरमै शौचालय गएका बेला बेहोस भएका उनलाई देउती अस्पतालबाट प्रादेशिक अस्पताल रिफर गरिएको थियो । रुकुम पश्चिमको चौरजहारी–१४ का ३३ वर्षीय पुरुषको शुक्रबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । असोज २१ मा भर्ना गरिएका उनमा भोलिपल्ट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । बागलुङको ढोरपाटन–७ का घर भएका उनको बिहीबार राति साढे ११ बजे निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस्तै, भक्तपुरका ५ जना, काठमाडौंका ३ र ललितपुरका २ जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार ४ हजार ३ सय ९२ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । हालसम्म ८८ हजार ४० जना निको भएका छन् ।

Page 6
समाचार

निराधार आरोप लगाएर जनता भड्काउन खोजियो : प्रधानमन्त्री

- कान्तिपुर संवाददाता

(काठमाडौं)
धानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले जनता
भड्काउन खोजेको आरोप लगाएका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले भट्टराईतर्फ लक्षित गर्दै टुंगो नै नभएको आयोजनाबाट वर्तमान र पूर्वप्रधानमन्त्रीले कमिसन लिए भन्ने अभिव्यक्ति अनुत्तरदायी, निराधार र गैरजिम्मेवार भएको बताए ।
भट्टराईले असोज २२ गते गोरखामा आयोजित पार्टी कार्यक्रममा बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिँदा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ कमिसन लिएको आरोप लगाएका थिए । आरोप पुष्टि गर्न कांग्रेसले भट्टराईलाई चुनौती दिएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बुधबार प्रेस विज्ञप्तिमार्फत भट्टराईले लगाएको आरोप आधारहीन, झूटा, कपोलकल्पित र दुराशयपूर्ण भन्दै भर्त्सना गरेका थिए । भट्टराईको आरोपलाई नेकपाले तथाकथित भन्दै प्रमाण भए सार्वजनिक रूपमा र राज्यका सम्बन्धित निकायमा पेस गर्न चुनौती दिएको थियो । प्रधानमन्त्री ओलीले भट्टराईको नाम नलिईकनै उनको अभिव्यक्तिलाई गैरजिम्मेवार र निराधार भन्दै जनता भड्काउन खोजेको टिप्पणी गरे ।
‘हुन त केही गैरजिम्मेवार तत्त्व गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनें, एउटा हुँदै नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको र त्यो हुन्छ/हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको छु,’ ओलीले भने, ‘यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्तिको एउटा कुरा हो तर हामी गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं ।’ प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा र हर्कत आफूहरूले गर्न नसक्ने दाबी गरे । ‘हामी सत्य, निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अघि बढ्न सक्छौं, तसर्थ नेपाल सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, अपराधविरुद्ध शून्य सहनशीलता अनि बिलकुल जिम्मेवारीका साथ अगाडि बढ्छ,’ उनले भने ।
समाजले बनाउने आमधारणामा सूचना तथा सञ्जालले पारेको प्रभाव अझ विभिन्न कोणमा यी माध्यममार्फत देखिने नकारात्मक प्रभाव अहिलेको जटिल समस्या रहेको पनि उनले बताए । प्रविधिमा दक्ष तर सामाजिक र राष्ट्रिय जिम्मेवारीप्रति असंवेदनशील समूहले स्वार्थ प्रेरित रूपमा फैलाउने अफवाह, भ्रमजस्ता कुरा चुनौतीका रूपमा देखापरेको उनको भनाइ छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले २०७४ जेठमा १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न बिनाप्रतिस्पर्धा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयको केही दिनमै जेठ २१ मा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र कम्पनीबीच आयोजना निर्माणसम्बन्धी सम्झौता भयो । प्रधानमन्त्रीबाट दाहाल हटेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवाको मन्त्रिपरिषद्ले अघिल्लो सरकारका पालामा भएको सम्झौता अनुमोदन गर्दै स्वदेशी लगानीमा निर्माण गर्ने भनिएको आयोजना चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा सुम्पियो तर त्यही मेसोमा चुनावी माहोल सुरु भयो । नेकपा माओवादी केन्द्र र एमाले मोर्चा बनाएर चुनावमा होमिए ।
केहीअघिसम्म सत्ता साझेदारीमा रहेका कांग्रेस र माओवादी बिस्तारै टाढिँदै गए । सरकारमा भएका माओवादीका मन्त्रीलाई देउवाले फाजिलमा राखेर जिम्मेवारीमुक्त गराए । राजनीतिक आरोप–प्रत्यारोप थप पेचिलो हुन थाल्यो । देउवा नेतृत्वको चुनावी सरकारले दाहालका पालामा गेजुवासँग गरेको सम्झौता रद्द गरिदियो । त्यसपछि चुनावसँगै एमाले र माओवादीको बहुमत आयो । चुनावपछि तत्कालीन एमाले अध्यक्ष ओली प्रधानमत्री भए ।
चुनावमा मोर्चाबन्दी गरेर उठेका पार्टीबीच २०७५ जेठ ३ गते एकता भयो । प्रधानमन्त्री भएपछि ओली नेतृत्वको मन्त्रिपरिषद्ले अघिल्ला सरकारले गरेको सम्झौता पुनः
उल्ट्याएर बिनाप्रतिस्पर्धा गेजुवालाई नै आयोजना दिने निर्णय गर्‍यो तर सम्झौता भने अझै भइसकेको छैन । तत्कालीन प्रधानमन्त्री भट्टराईले आयोजना स्वदेशी लगानीमै बनाउनुपर्ने निर्णय गर्दै २०६९ मंसिर १८ गते ‘बूढीगण्डकी जलविद्युत् आयोजना विकास समिति (गठन) आदेश २०६९’ जारी गरेका थिए । राजनीतिक स्वार्थ र शंकास्पद कमिसनको खेलकै बीच २ खर्ब ७० अर्ब रुपैयाँ लागत अनुमानको यो आयोजनाका लागि भनेर प्रभावित क्षेत्रका बासिन्दालाई ३२ अर्ब ९८ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ तर आयोजना भने अन्योलमै छ ।

नकारात्मक कामको बढी चर्चा भयो ः आईजीपी
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले अपराध अनुसन्धान तथा नियन्त्रण र शान्तिसुरक्षा व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीका कमजोरी र त्रुटिको मात्रै बढी प्रचार भएकामा असन्तुष्टि जनाएका छन् ।
स्ट्रेचरमा सुत्केरी बोक्नेदेखि पहिरोमा पुरिएकालाई आफू जोखिममा रहेर उद्धार गरेका विषय नकारात्मक कामले ओझेलमा परेको पनि उनले गुनासो गरे । ‘प्रहरीहरू तोकिएको जिम्मेवारी इलाकामा खटिन्छन्, सुत्केरीको उद्धार गर्न स्टकै हुन्छन्, पहिरोले पुरिएर आफू नचिनिने गरी खटिएकै हुन्छन्, यदाकदा हुने अतिरिक्त बल प्रयोग प्रहरीको नीति होइन,’ प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासमेत उपस्थिति रहेको कार्यक्रममा भने, ‘के प्रहरी फगत दोषबाट मात्रै मूल्यांकन हुनुपर्ने पेसा हो त ? गरेका राम्रा काममा सामाजिक सम्मान प्राप्त भयो भने प्रहरीले सेवालाई दीर्घ सेवामा रूपान्तरण गर्ने थिए होलान् भन्ने हाम्रो बुझाइ हो ।’
थापाले कोरोना महामारीका बेला आममानिस मृत्युको भयले घरभित्र सीमित भएको, अड्डा/अदालत बन्द रहेका बेला पनि प्रहरी साझा अदृश्य शत्रुविरुद्ध २४ सै घण्टा फिल्डमा खटिएको बताए । जिम्मेवारी र कार्यशैलीका हिसाबले प्रहरीलाई जोखिमका बेला पनि घर बस्ने छुट नभएको उनले बताए । आईजीपी थापाले राष्ट्रको समग्र सुरक्षाको प्रश्न जिम्मेवारीको विषय भएको भन्दै सामूहिक प्रयत्नले मात्र नागरिकको अपेक्षा पूरा गर्न सकिने बताए । जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीका मात्रै १ हजार ६ सय ६० जना अधिकृत तथा जवानहरूले सहादत प्राप्त गरेका छन् ।

समाचार

‘बलात्कारविरुद्ध कठोर कानुन आउँछ’

- कान्तिपुर संवाददाता


बलात्कारविरुद्ध कठोर कानुनी प्रावधान ल्याउनेबारे छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले बलात्कारलाई निन्दनीय र मानवताविरोधी अपराध भन्दै यस्ता घटना मिलापत्रका नाममा ढाकछोप गर्नेमाथि पनि कडा कारबाही गरिने चेतावनी दिए ।
एसिड अपराधविरुद्ध कठोर सजायसहितको कानुन लागू भइसकेको स्मरण गर्दै उनले बलात्कारमा संलग्नलाई जोगाउन भनसुन, सिफारिस आउन सक्ने तर त्यसबाट टाढै रहन प्रहरीलाई निर्देशन दिए । ‘बलात्कारका घटना कुनै पनि हालतमा मानवोचित छैन, निन्दनीय र मानवताविरोधी अपराध हो, यस्ता कुरा नियन्त्रण गर्न अझ कडा कानुन निकट भविष्यमा ल्याउनेतर्फ हामी सोचिरहेका छौं,’ ओलीले भने, ‘यस्ता अपराधविरुद्ध सक्रियता र निर्भीकतासाथ खटिन निर्देशन दिन्छु । नागरिक समाज पनि सजग रहन जरुरी छ । यस्ता अपराध मिलापत्रका नाममा छोपछाप पार्नेजस्ता क्रियाकलाप कुनै पनि हालतमा उचित र सह्य छैन, हुन सक्तैन ।’ उनले मुलुकको आन्तरिक सुरक्षाको मियोका रूपमा रहेको प्रहरीको भूमिका र कर्तव्यले मात्र समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताए । ‘प्रहरीप्रतिको विश्वास कमजोर भयो, नागरिक–प्रहरी सम्बन्ध बिग्रियो भने शान्तिसुरक्षा कमजोर हुन्छ । जनसहयोगका बाटाहरू पनि कमजोर हुनेछन्,’ उनले भने, ‘प्रहरी गतिशील संगठन हो, सुधार र परिवर्तन संगठनभित्रैबाट हुनुपर्छ । प्रहरीका संस्थागत हित तथा प्रहरी कर्मचारीको कल्याणका लागि सरकार सदैव तत्पर छ ।’ २००७ सालमा स्थापना भए पनि ऐन जारी भएको साल २०१२ बाट प्रहरीले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको अवसरमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृह सचिव महेश्वर न्यौपाने, बहालवाला तथा अवकाशप्राप्त उच्च प्रहरी अधिकारीलगायतको उपस्थिति थियो ।

 

 

Page 7
दसैं विशेष

'ब्युटी क्विन’ काठमाडौं र काला ख्याकहरू

- वसन्त थापा

 

पूरा तीन दिन लाग्थ्यो सतह मार्ग भएर धरानबाट काठमाडौं आइपुग्नलाई । मुलुकको सबै भागबाट अलगथलग रहेको यस्तो टापु थियो काठमाडौं, जहाँ आइपुग्नलाई भारतीय भूमिको समुद्रमा हेलिएर आउनुपर्थ्यो रेलमा । त्यसैले काठमाडौं आउन धरानबाट पहिले विराटनगर भएर नजिकको जोगबनी पुग्नुपुर्थ्यो रेल चढ्नलाई र कटिहारमा रेल फेरेर समस्तिपुर,
मुजफ्फरपुर, मोतीहारी हुँदै रक्सौल स्टेसनमा आइपुगिन्थ्यो । त्यहाँबाट एउटा घोडाले तान्ने एक्का वा टाँगामा वीरगन्ज पुग्दासम्म पूरा दुई दिन बितिसकेको हुन्थ्यो । वीरगन्जबाट काठमाडौं जाने बस बिहान मात्र चल्थ्यो, त्यो पनि थोरै । केही गरी टिकट नपाए वीरगन्जकै बास पनि हुन्थ्यो र त्यसले यात्राकाल एक दिनले अरू थपिन्थ्यो ।
नाम चलेको बस कम्पनी थियो लोकभक्त ट्रान्सपोर्ट उसबेलाको । त्यसका बसहरूको चौडाइ कम र लम्बाइ छोटो हुन्थ्यो, पुच्छर काटिएका माउसुलीजस्ता ठुटे र बुच्चे । ‘बाइरोड’ भनिने त्रिभुवन राजपथको चक्करदार सडकका कारण ती बस त्यस आकारका बनाइएका थिए । ट्रकहरू पनि त्यस्तै हुन्थे, छोटा डालाका । बाटो लामो र खतरनाक घुम्तीयुक्त भएको हुँदा बिहान सबैरै वीरगन्ज नछाडे काठमाडौं उसै दिन पुग्न सकिँदैन भन्ने मान्यता थियो । चालकहरू प्रायशः पगडीवाल सरदारजी हुन्थे । उनीहरू हिम्मतदार र यस्तो सडकमा गाडी चलाउन खप्पिस मानिन्थे । हामी चढेको बसको चालक भने पगडीवाल थिएन, हिन्दुस्तानी थियो । बाइरोडको सात घुम्तीको ख्याति वा कुख्याति निकै फैलेको थियो, ज्यानमारा घुम्ती भनेर । दुर्घटना निम्त्याउने थलो मानिन्थ्यो सात घुम्ती । हाम्रो बसको चालक भने सिमभञ्ज्याङको उकालो चढ्दैमा असिनपसिन भएर रुमालले बारबार मुख पुछिरहेको थियो मानों बाइस–चौबीस जनाको सवारी पिठ्युँमा बोकेर ऊ आफैं उकालो चढिराखेको होस् ।
चन्द्रागिरि डाँडाको चुचुरोबाट उपत्यका हेरेर पृथ्वीनारायणले जुँगामा ताउ दिएका थिए रे । अनि राणाकालमा नेपाल आउन इजाजत पाएर जति पनि विदेशीहरू यहाँ आए, त्यहाँबाट काठमाडौं उपत्यकाको विछट्टको दृश्य देख्दा उल्लासित हुन्थे जसरी सन् १९५० को अक्टोबरमा नेपाल आउने स्विस भूगर्भविद् टोनी हागन भएका थिए । नेपाल खाल्डोको प्राकृतिक छटाको पहिलो दर्शनबाट आफू विमुग्ध भएको कुरा उनले आफ्नो यात्रा विवरणमा लेखेका छन् । इन्डियन आर्मीले हतारहतार आफ्नो मतलबले अतिशय लामो र घुमाउरो भए पनि त्रिभुवन राजपथ बनाइसकेको हुनाले मैले भने काठमाडौं आउनलाई चन्द्रागिरिको उकालो चढिरहन परेन र त्यहाँबाट नेपाल खाल्डोको मनमुग्धकारी दृश्य हेरेर रमाउन पनि पाइनँ । रिमरिम साँझको बेला लोकभक्त ट्रान्सपोर्टको ठुटे बसमा नागढुंगाबाट म लुसुक्क छिरेको थिएँ । बसले हामीलाई काठमाडौंको सुन्धारामा ओराल्दा काठमाडौंलाई साँझको अँध्यारोले छोपिसकेको थियो ।
हामीले एउटा रिक्सा लियौं र लाग्यौं डिल्लीबजारतिर । डिल्लीबजार त उकालोमा रहेछ । रिक्सावालले कसरी हामीलाई तानेर डिल्लीबजारको उकालो तार्‍यो र मैतीदेवी पुर्‍यायो रातिको बेला त्यो म सम्झन्नँ । मैतीदेवी मेरी कान्छी छ्यामा बस्ने ठाउँ थियो र हाम्रो गन्तव्य । हामी भनेको म र मलाई काठमाडौं लिएर आउने मेरा पथप्रदर्शक साना बा जसलाई म काका भन्थें । चरिकोट मूल घर भएका ती काका जवानीमा प्रहरीको जागिरमा धनकुटा पुगेका थिए र उनले मेरी छ्यामासित बिहा गरेर उतै घरजम गरेका थिए । हवल्दारसम्म भएका उनी चरिकोट मूलघर जाँदै थिए र म उनैको फेरो समातेर आएको थिएँ ।
एक दिनको बसाइपछि काकाजी त लागिहाले चरिकोटको बाटो । अब म फिट्टो थिएँ काठमाडौंमा रल्लिनलाई र काठमाडौंको नौलो संसारको खोजयात्रा गर्नलाई । कुनै योजना बाँधेर आएको थिइनँ म काठमाडौं । बीएको परीक्षा सकेर के गरौं कसो गरौं भइरहेको बेला ती काकाले काठमाडौं डुल्न जाने हो भने हिँड, मलाई साथी पनि हुन्छ भने । नयाँ ठाउँ घुम्न जाने भनेपछि जहिल्यै पनि एउटा खुट्टा उचालिराख्ने मेरा लागि त्यो अफर बाँदरका लागि लिस्नो भएको थियो र म उनको साथ लागेर काठमाडौं आइपुगेको थिएँ । आफ्नो मुलुकको राजधानी घुम्नुबाहेक मेरो अर्को निश्चित उद्देश्य थिएन । विशुद्ध पर्यटकीय थियो मेरो मकसद ।
मैतीदेवीलाई आधारशिविर बनाएर म सक्नेजति ठाउँमा गएँ । पिताजीबाट भेट्नू भन्ने आदेश भएको उहाँका मित्रहरूलाई भेट्ने र भलाकुसारीको सन्देश दिने काम गरें । मेरो घुमघाममा मलाई त्यतिखेर सजिलो भयो, जतिखेर न्युरोडमा बस्ने गरेका धरानकै एक सहहृदयी दाइ माधव शर्माले आफूकहाँ आई बस्न निम्त्याए । साता–दस दिनको मैतीदेवी बसाइपछि झोलातुम्बा लिएर न्युरोड सरें । काठमाडौंको मुटु न्युरोडमा बस्न पाएपछि मलाई धेरै कुराको पायक पर्‍यो । बस समात्नलाई रत्नपार्क वा सहिदगेट । साइकल भाडामा लिनलाई प्युखाटोल । सिनेमा हेर्नलाई रञ्जना । किनमेलका लागि असन र इन्द्रचोक । लाइब्रेरी जान मन लागे सामुन्ने नै अमेरिकी लाइब्रेरी थियो र वसन्तपुरमा लस्करै थिए भारतीय, चिनियाँ र सोभियत मैत्री पुस्तकालय ।
धरानका एक झुन्ड साथीहरू ठमेलमा बस्थे, कोही इन्डियन एम्बेसीले चलाएको सैनिक होस्टेलमा र कोही त्यतै बाहिरतिर । उनीहरूलाई भेट्न र उनीहरूसित गफिन वा मिलेर कतै घुम्न जान म प्रायःजसो ठमेल गइरहन्थें । साँझमा न्युरोड फर्कंदा म जहिल्यै नयाँ रुटबाट फर्कन्थें । त्यो जानेर नभई बाटो बिराएर हुने गर्थ्यो । ठहिटीबाट कहिले क्षेत्रपाटी छिर्दो रहेछु र थाहै नपाई रक्तकाली, नरदेवी हुँदै वसन्तपुर निस्किरहेको हुन्थें । कहिले त्यौडतिर लागेर असन अनि महाबौद्ध पुग्दोरहेछु र भोसिको हुँदै न्युरोड गेट निस्किरहेको हुन्थें । कहिले भने बांगेमुढा, भेंडासीं हुँदै इन्द्रचोक निस्केर होटेल क्रिस्टल पुग्थें । साँघुरा सडकहरूको यो भूलभुलैयालाई साँझको अँध्यारोले झनै जटिल बनाउँथ्यो । यो गुत्थी सुल्झाउन मलाई निकै समय लाग्यो ।
त्यसबखत काठमाडौं सहरका मुख्यमुख्य ठाउँहरू सिँगारिने क्रममा थिए । वातावरणमा चहलपहल बढेको थियो र मानिसमा उत्सुकताको भाव । अनेक देशबाट विशिष्ट अतिथिहरू काठमाडौं धमाधम आइरहेका थिए या आउनेवाला थिए । तिनमा राजनेता, राष्ट्रप्रमुख, राज्यप्रमुख, मन्त्री, कूटनीतिज्ञ र विशिष्ट व्यक्तित्वहरू थिए । किनभने गद्दीनसीन राजा महेन्द्रका ज्येष्ठ पुत्र युवराज वीरेन्द्रको विवाह सम्पन्न हुन लागेको थियो र ती विशिष्ट पाहुनाहरू राजाका निम्तामा आइरहेका थिए । संयोग, म पनि यसै बेला काठमाडौं आइपुगेको थिएँ, तर शाही आतिथेयलाई कुनै व्ययभार नपर्ने गरी आफ्नै खर्चमा ।
५५–६० देशका प्रतिनिधिहरू विवाह समारोहमा सरिक हुन आएको कुरा पछि अखबारमा छापिएको थियो । अतिथिहरूको यस लामो सूचीमा म अहिले केवल दुई जनालाई सम्झन्छु— बेलायतका युवराज चार्ल्स र भारतीय फिल्म अभिनेता देव आनन्द, जो राजा महेन्द्रका विशेष निम्तामा आएका थिए । आफ्नो चासोका यी दुवै जनाको दर्शन तस्बिरमा बाहेक साक्षात भने हुन सकेन । देव आनन्दले आफ्नो आत्मकथामा लेखेअनुसार त्यही विवाह समारोहमा अतिथि बनेर आएको बेला एक जर्मन फिल्ममेकरसित काठमाडौंका हिप्पी अड्डाहरूमा गएपछि हिप्पी संस्कृतिमा आधारित फिल्म ‘हरेराम हरेकृष्ण’ बनाउने आइडिया उनलाई फुरेको । उनले राजा महेन्द्रसित फिल्मको नेपालमा सुटिङ गर्न पाउने इजाजत पनि उसै बखत मागेको उल्लेख गरेका छन् ।
हुन पनि त्यो हिप्पी युगको उत्कर्ष समय थियो र काठमाडौं हिप्पीहरूका लागि संसारकै प्रमुख अखाडामध्येको थियो । युरोपका लन्डन, पेरिस, आम्स्टरड्याम, बर्लिन, म्युनिख, रोम आदि र अन्य सहरदेखि बस र मिनीबस हाँकेर युवा हिप्पीहरू काठमाडौं ओइरिन्थे । पश्चिम एसिया अहिलेजस्तो गञ्जागोल स्थितिमा थिएन । इरान र अफगानिस्तानमा शान्ति थियो अनि तिनै देश
हुँदै युरोपबाट हिप्पीहरू ‘ओभरल्यान्ड’ नेपाल आउँथे । कतिपयले गाडी यतै बेचबिखन गर्थे । उनीहरूले
ल्याएका मर्सेडिज बेन्ज मिनीबसहरू भक्तपुर रुटमा धेरै पछिसम्म चल्थे ।
काठमाडौंका पसलहरूमा चरेस खुला रूपमा त्यसरी नै बिक्री हुन्थ्यो जसरी असनटोलमा जिरा–मरीच । मुस्ताङ र जुम्लाको स्याउ भनेजसरी उत्पत्तिस्थल र स्वादअनुसार चरेसको मोल राखिएको हुन्थ्यो । ठमेल अस्तित्वमा आइसकेको थिएन र झोछें, वसन्तपुर, मरु तथा स्वयम्भू हिप्पीहरू झुम्मिने मुख्य अखाडाहरू थिए । हिप्पीहरूकै कारण झोछेंले ‘फ्रिक स्ट्रिट’ र मरुटोलले ‘पिग एली’ भन्ने नाम पाएको थियो । झोछेंको इडेन होटलले चरेस व्यापारकै कारण नाम र दाम कमाएको थियो
भनेपछि त्यसको मालिक डीडी शर्माले कुख्याति पनि कमाउनुपरेको थियो ।
राजा महेन्द्रले आफ्ना उत्तराधिकारीको विवाह धूमधामसित गरेर दुनियाँलाई देखाउन कुनै कसर बाँकी राखेका थिएनन्, यस्तो देखिन्थ्यो । हात्तीमा सवार भएर लावालस्करसहित गएको युवराज वीरेन्द्रको जन्ती र दुलही लिएर फर्कंदाको रमिता हेर्नलाई रत्नपार्कदेखि महाकाल मन्दिर र सहिदगेटसम्मको पूरै सडक दर्शकको भीडले छोपेको थियो । त्यतैपट्टिको टुँडिखेल छेउका रूखहरूमा समेत चढेर मानिसले शाही विवाहको उत्सव हेरेका थिए । पछि डायमनशमशेरको ‘सेतो बाघ’ पढ्दा त्यहाँ गरिएको जितजंगको वरियातीको चित्रणबाट युवराज वीरेन्द्रको त्यो शाही जन्तीलाई मैले झलझली सम्झिएँ ।
विश्व मिडियामै त्यस विवाहको चर्चा भएको थियो । त्यसका साथै त्यस शाही तामझामको आलोचना गर्नेहरू पनि थिए । बम्बईबाट निस्कने अंग्रेजी साप्ताहिक पत्रिका ‘ब्लिट्ज’ ले गरिब प्रजा अघिल्तिर शाही सानसौकत भन्ने बेहोराको रेपोर्ताज झुत्रेझाम्रे लुगा लगाएका मानिसहरूको तस्बिरसहित छापेको थियो । फलतः त्यो पत्रिका नेपालमा प्रतिबन्धित हुन गयो ।
चक्रपथ बनेको थिएन, न त माइतीघर भएर भक्तपुर जाने सडक र ट्रलीबस नै आएको थियो । भक्तपुर जाने पुरानो सडक सिनामंगलको ढिस्को काटेर बनाइएको गल्छेडोबाट अहिले विमानस्थलको रनवेलाई छिचोलेर सानो ठिमी हुँदै जान्थ्यो । भक्तपुर, फर्पिङ र केही हदसम्म गोदावरी नै पनि जान–आउनलाई लगभग दिनभरि खर्चिन पर्थ्यो । बूढानीलकण्ठ पनि कम टाढा लाग्दैन थियो । कच्ची सडक धान खेतको बीचबाट जान्थ्यो । उसैबेला ‘वाइल्ड वेस्ट’ को छवि बनाएको बौद्ध पनि टाढै लाग्थ्यो भने गोकर्ण त कता हो कता दूरदराज प्रदेश ।
खुला, विस्तृत र तरेली परेका फाँट । हरियो पहाडको पर्खाल अनि त्यसपछाडि झल्झलाकार हिमालको धवल लहर । यति नजिकबाट हिमालयको दर्शन गर्न सकिने मध्यपहाडको उपत्यकामा पोखरापछि सम्भवतः काठमाडौं नै हो । वाग्मती र विष्णुमतीमा पौडी खेलेको म दाबी गर्न सक्दिनँ । तर मलाई यति थाहा छ त्यहाँ पानी नै बग्थ्यो, अहिलेजस्तो ढल होइन । मनोहरा र धोबीखोलाको हकमा पनि यही कुरा लागू हुन्थ्यो । माटोको उर्वरशीलताको त कुरा गरी साध्ये छैन । बडेमाको काउली, मूला र फस्टाएको तरकारी बाली हुनुमा मानवमल सोझै प्रयोग गर्ने चलनको पनि हात हुन सक्थ्यो । तर कसैको उक्तिलाई दोहोर्‍याएर भन्ने हो भने ‘बाख्राको पुच्छर रोपिदियो भने बाख्रै फल्ने’ माटो थियो यस खाल्डोको ।
ट्याक्सी, बस, निजी कार, मोटरसाइल सबै थिए । होटल, रेस्टुँरा, चियाचमेनाका पसल, दोकानहरू सबै थिए । त्यस्तैगरी कार्यालय र अड्डाहरू पनि । स्वदेशी आगन्तुक र विदेशी टुरिस्टहरू पनि आउँथे । तर सबै सीमित मात्रामा र अति थोरै । एउटा सहरमा हुनुपर्ने अवयवहरू विकसित हुँदै गरेका थिए, तर केही धीमा गतिमा । आधुनिकता र प्राचीनताको संघारमा उभिएको लाग्थ्यो काठमाडौं । ‘स्लो मोसन’ मा चलेको फिल्मजस्तो थियो यहाँको जीवन कुनै हतारो वा भागदौड वा आपाधापीबिनाको ।
मानिसहरू स्वान्तः सुखाय जीवन बिताइरहेका प्रतीत हुन्थ्यो । जे छ त्यसैमा खुसी, त्यसैमा सन्तुष्ट । उनीहरूमा सरलता अझै जीवित थियो, कुटिलताले जरा गाडिसकेको थिएन । काठमाडौंको खाँट्टी भित्री भागमा त नेपाली बोलीले प्रवेश पाइसकेकै थिएन । रैथाने र मजस्ता भर्खर बाहिरबाट आएको मानिस अलग्गै छुट्टिन्थे । रैथानेहरूको दृष्टिमा आफूबाहेक अरू मानिस तीन वर्गमा विभाजित थिए ः भोट प्रदेशतिरबाट आएका मानिस ‘सँयें’, पहाडी प्रदेशबाट आएका नेपाली भाषा बोल्नेहरू ‘खयें’ र तराई प्रदेशबाट आएकाहरू ‘मर्स्या’ । यो भेदबाहेक उनीहरूमा बाहिरियाप्रति वैमनस्यता भाव थिएन, बरु सहिष्णुता नै थियो । नेपाली भाषालाई उनीहरू सामान्यतया पर्वते भनेर बुझ्थे र पर्वते भाषा बोल्नेहरूलाई प्रायः दाइ भनेर सम्बोधन गर्थे । उमेरको लिहाज नगरी आफूभन्दा पाको मानिसले दाइ भन्दा अचम्म लाग्थ्यो । सायद गोर्खालीहरूले काठमाडौं अधीनमा पारेपछि जन्मिएको संस्कारको अवशेष थियो त्यो चलन ।
नेपाली बोल्ने यहाँका बासिन्दाहरूको बोलीमा पनि आफ्नै लय र तान थियो, अन्यत्र बोलिने नेपाली भाषासित नमिल्ने । पूर्व वा पश्चिम नेपाल वा नेपालबाहिर दार्जिलिङजस्तो ठाउँमा बोलिने नेपालीभन्दा छुट्टै, अलग्ग, विशिष्ट र निकै शिष्ट पनि । उनीहरूको अघिल्तिर म र मजस्ता मुलुकको पूर्वी भागबाट आएकाहरूले बोल्ने नेपाली रूखो, खस्रो र ठाडो सुनिन्थ्यो । केही लवजहरू पनि बिलकुल फरक थिए । भन्या, गर्‍या, देख्या, सुन्या, हेर्‍या भन्ने बोली यहाँका बासिन्दाहरूको खासियत थियो ।
हाम्रोतिरको डिम्मालाई यहाँ फुल भनिन्थ्यो (आजभोलि त्यो ‘अण्डा’ हुन गएको छ, त्यो अलग कुरा हो) । हाम्रो ‘फूलकोपी’ यहाँ ‘काउली’ भएको थियो । हाम्रो जलेबी वा जुल्फी यहाँ जेरी कहलिन्थ्यो । ‘भुजा’ ‘भुजा’ भनेको सुन्दा यहाँका मानिस किन चिउरा–भुजाको यति कुरा गर्छन् भन्ने लाग्थ्यो । किनभने मधेसको मुरै वा मुरीलाई हामी भुजा भन्थ्यौं जो प्रायशः चिउरासित जोडिएर आउँथ्यो । जसलाई हामी भुजा भन्थ्यौं त्यो त यहाँ ‘गोलफुकी’ भनेर चिनिथ्यो र भातलाई पो मानिस यहाँ भुजा भन्थे । अझ क्रियापदमा ‘सियो’ जोड्ने नितान्त बेतुका लाग्ने चलन त हाम्रोतिर थिँदै थिएन । ठकुरी, छेत्री, बाहुन जोसुकै हुन् यसरी ‘सियो’ को फुर्का जोडेर बोल्दैन थिए । हिजोआज पूर्व, पश्चिम जतासुकैका हुन् यहाँ आएपछि उनीहरू
आफ्नो जातीय उच्चता प्रदर्शन गर्नलाई यस दरबारिया लवजको सुगारटाइ गर्छन् त्यो फेरि छुट्टै कुरा हो ।
‘हजुर’ हामी आमाबाबुले वा ठूलाबडाले वा शिक्षकले बोलाउँदा प्रत्युत्तरमा भन्थ्यौं । लेखक श्यामप्रसादले ‘तँ, तिमी, तपाईं, हजुर’ भन्ने शीर्षकको किताब लेखेर तहयुक्त सम्बोधनको बयान गर्दा हजुरको प्रयोजन प्रस्ट लागेको थिएन । किनभने तपाईंको खुड्किला नाघेर मानिसलाई ‘हजुर’ भनेर सम्मान गर्नॅपर्छ भन्ने कुराको हेक्का नै थिएन । तर काठमाडौंको सामाजिक परिवेशमा ‘हजुर’ अविभाज्य तवरले गाँसिएको थियो र त्यो सामन्ती अवशेष बिलाउनुको सट्टा अचेल झनै झांगिँदै गएको छ ।
त्यसैगरी ‘काजी’ सम्मानसूचक पदवी हो भन्ने नबुझेको थिएन । तर हाम्रोतिर त्यो केवल छेत्री समुदायका त्यसमा पनि खातापिता र खानदानी व्यक्तिसित जोडिने कुरा थियो । जस्तो बाहुनलाई बाजे, मगरलाई मुखिया, लिम्बूलाई सुब्बा, थारूलाई चौधरी भनेझैं काजी पदवी छेत्रीका लागि सुरक्षित थियो । जस्तो मैले काका भन्ने गरेको टोलका लक्ष्मण बस्नेतलाई मानिसहरू ‘लड्डुकाजी’ भनी पुकार्थे । तर कतिपय घरानियाँ नेवार परिवारका व्यक्ति समेत यहाँ काजी भनेर चिनिएको र पुकारिएको देख्दा म आश्चर्यित भएको थिएँ ।
घरमा आएका पाहुनाहरूलाई सामान्यतया (भान्सामा फुल चल्ने घरमा) तारेको फुल र दूधचियाबाट स्वागत हुन्थ्यो अनि पाहुना हिँड्ने बेलामा आतिथेयले ‘आउनोस् है’ भनेर बिदाइ गर्थे । ‘आउँदै गर्नोस् है’ भन्ने आशयको त्यस अभिव्यक्तिमा निहित शिष्टताको मर्म नबुझेर ठाडे मिजासका हामी भने ‘कहिले आऊँ ?’ भन्थ्यौं ।
‘बिनाबी’ अर्को शब्द थियो नेवार घरपति भएको घरमा र टोलमा अक्सर सुनिने । धन्न यज्ञप्रसाद आचार्यले त्यसै शीर्षकको कथा लेखेर कथासंग्रह नै छपाएको र त्यसलाई धरानमै छँदा पढेको हुनाले त्यस शब्दको आशयबाट कम्तीमा म परिचित थिएँ । त्यो भनेको ‘एस्क्युज मी’ भनेजस्तो हो जो अचेल प्रायः सुनिँदैन । भर्‍याङ उक्लँदा तल वा माथिबाट कोही आइरहेको छ कि वा बाटामा धक्का लाग्ला कि वा छोइएला कि भनेर मानिस त्यसो भन्थे ।
मोमो, थुक्पा र चाउमिन त दार्जीलिङ, कालिम्पोङ अनि लाहुरे कनेक्सनबाट धरानमा आइसकेका थिए, लगभग ब्रिटिस क्याम्पको स्थापनासँगै । तर गोलो फुच्चे ममचा अनि छोयला र कचिलासित चाहिं काठमाडौंमै परिचय भएको हो । धरानमा सुँगुरको मासुको परिकारले अहम् स्थान ओगटेको थियो भने काठमाडौंमा राँगाको मासु वा ‘बफ’ ले । ती परिकारका लागि नामी थियो फसिकेवको आरसी ममचा । खसीको भित्र्याँसलाई धरानतिर सोझै आन्द्राभुँडी भन्ने चलन थियो । विराटनगरमा त ट्राफिक चोक नजिक भुँडी दोकानको लाइनै छ । तर काठमाडौंमा त्यही आन्द्राभुँडी ‘भुटन’ भनेर चिनिन्थ्यो ।
ज्यापू पनि हामी उतातिरबाट आउनेहरूका लागि किञ्चित् नौलो कुरा थियो । हाम्रातिर सबै नै जसो नेवारहरू प्रायः श्रेष्ठ थर लेख्थे । यद्यपि उदास, ताम्राकार, जोशी, शाक्य, प्रधान, अमात्य, मास्के, कायस्थ थरका नेवारहरू पनि नभएका होइनन् । सबै नेवार ज्यापू र सबै ज्यापू नेवार भन्ने आम धारणा थियो हाम्रो, जो सही नभएको यहीं आएर मात्रै थाहा भयो । जम्मा एउटा परिवार मानन्धर पुगेको थियो हाम्रो बेला धरानमा । खसी काटेर मासु बेच्ने अर्को एउटा खड्गी परिवार थियो जसलाई सबै ‘नेपाले’ भन्थे ।
एक महिनाभन्दा कम र तीन हप्ताभन्दा केही बढी दिन धरानको यस टुरिस्टले काठमाडौंमा घुमफिर गर्‍यो, साथीभाइ र चिनजानसित भेटघाट गर्‍यो, उनीहरूका डेरा र घरमा गयो । अनि राजधानी सहरको आफ्नै अनुभव बोकेर ऊ धरान फर्क्यो । काठमाडौं फेरि फर्केर आउँला भन्ने योजना वा चाहना दुवै कुरा उसको मनमा उठेको थिएन ।
धरान फर्केको केही कालपछि बीए जाँचको परीक्षाफल निस्क्यो । एसएलसीको शानदार प्रतिमानलाई कायम राख्दै फेरि उही गान्धी डिभिजनमा म उत्तीर्ण भएँ । केही काकताली र संयोगले गर्दा त्यस सालको तिहार सकेलगत्तै म काठमाडौं आउने भएँ युनिभर्सिटीमा पढ्नलाई र आएँ पनि । यसपटक भने विराटनगरबाट डकोटा विमान चढेर ।
आउनासाथ म गल्कोपाखामा साथीहरूको डेरामा घुस्रिएँ । त्यसपछि भगवानबहाल, ठमेल, झोंछे, चिकंमुगल, ओमबहाल, पाको, प्युखा, कमलपोखरी, ज्ञानेश्वर आदि अनेक ठाउँमा कहिले एक्लै, कहिले साथीहरूसित साझेदारीमा र पछि बिहा गरेपछि परिवारसित डेरा सरिहिँडे । अनि तीन दशकभन्दा केही बढी समयदेखि सामाखुसीमा एउटा सानो ओत बनाएर बस्दै आएको छु । ‘अनेक पापड बेल्दै’ निरन्तर र बिनाकुनै ब्रेक यस खाल्डोमा बस्दै आएको पचास वर्ष पुगेछ ।
सन् १९७० को फेब्रुअरीमा पहिलोपटक काठमाडौं टेक्दा मैले देखेको यो उपत्यका कवि भूपि शेरचनको कविताको हरफजस्तै थियो — शुभ्र, शान्त र स्निग्ध । तर एकताकाको यस अप्रतिम र अद्वितीय उपत्यकाको मुहारमा एसिड छ्यापिएको छ । यसको अस्मिता हरण भएको छ । यसको शौष्ठव लुटिएको छ । यसको सुन्दर काया छियाछिया पारिएको छ । कोही भएनन् यसलाई माया गर्ने । जो आए तीन आने सपना बोकेर आए । यसको हकमा ठूलो सपना देख्ने स्वप्नदर्शी कोही भएन । आकाशबाट हेर्दा ग्रीक मिथकको राकस्नी मेडुसाको केशको सट्टा सर्प उम्रिने टाउको जस्तो देखिन्छ अहिले यो खाल्डो, विद्रुप र कुरूप । त्यसैले धेरै भयो हवाइजहाजमा मैले झ्यालको सिट माग्न छाडेको । तल हेर्दा आँखामा शीतलता मिल्दैन बरु मनमा व्याकुलता थपिन्छ ।
यो देख्दा पिताजीको मुखबाट सुनेको काठमाडौंको किंवदन्तीमा आधारित सेतो र कालो ख्याकको किस्सा सम्झन्छु म । त्यसअनुसार राति काठमाडौंमा सेतो र कालो ख्याक सक्रिय हुन्थे । सेतो ख्याकलाई पुण्यात्माहरूको प्रेत मानिन्थ्यो र कालो ख्याकलाई दुष्टात्माहरूको । सेतो ख्याकसित भेट भए त राम्रै हुन्थ्यो, किनभने उसले उपकार गर्थ्यो र मानिसको फलिफाप पनि हुन सक्थ्यो । तर ऊ सितिमिति भेटिँदैन थियो, उससितको भेट दुर्लभ हुन्थ्यो । एकदम धेरै भेटिइरहने सम्भावना भएको चाहिँ कालो ख्याक थियो जो अत्यन्त अनिष्टकारी र हानिकारक हुन्थ्यो । एकपटक समातेपछि उसले मानिसलाई निचोरिराख्थ्यो र मानिसको ज्यान पनि लिन्थ्यो ।
यस्तो लाग्छ, हिजोआज काठमाडौं खाल्डोमा तिनै काला ख्याकहरू जम्जमाएका छन् । तिनले जताततै विनाशको ताण्डव लीला देखाइरहेछन् । यसको श्वासनली दबाएका छन् । यसको अंगभंग गर्ने उद्योगमा निरन्तर लागेका छन् । अब उनीहरूलाई अन्धकारको आवरण पनि आवश्यक भएन, उज्यालोमा नै उनीहरू यो सब हाक्काहाक्की गरिरहेछन् ।
निस्सहाय, निरूपाय र निरीह म यो सबै हेरिरहन बाध्य छु र गम खान्छु ः कहाँ हरायो पचास वर्षअघि मैले देखेको काठमाडौं नामको ‘ब्युटी क्विन’ ?

दसैं विशेष

सबका शव

- कुमार नगरकोटी


केही सम्झनाहरू
रेल चढेर
बिहानै बिदा भए ।
कोठामा सुतिरहेको
सपना ब्युँझियो,
र, गल्ली छिचोल्दै बिलायो ।
थिए मेरा पनि केही सपना
यतिखेर सहपथिक बन्न पुगेका छन्
बटुवाहरूका ।
यौटा मन हुने गर्थ्यो
जो अस्थिसँगै
नदीमा मिसिएर बग्दैबग्दै गयो ।
जिन्दगी,
जो दुई दिनको पाहुना थियो
चिहानमै फर्केर गइसक्यो ।
सबका शव गइसके ।

सोच्दछु,
जाउँ म पनि कुनै स्त्रीको गर्भमा,
फर्केर जाऊँ ।

(विप्लव प्रतीकले अनुवाद गरेको यस कविता कुमार नगरकोटीले हिन्दीमा लेखेका हुन् ।)

Page 8
दसैं विशेष

धो–तराप : एक स्वप्न शृंखला

- मीनबहादुर भाम

 


दृश्य नं १ ः गौशालाको सडक, बिहान– झ्यालको शिशा बन्द छ । बाहिर हेर्दा कर्फ्यु लागेको आभास दिने गरी सुनसान र शान्त छ सडक, एउटा तपस्वीको मनजस्तै । एकै छिनमा साथीको गाडिले त्रिभुवन एयरपोर्टको पार्किङ पुर्‍याइदियो ।
दृश्य नं २ ः सिमकोट, दिउँसो– एउटा सानो जहाजले हुम्लाको सिमकोटमा ओराल्यो मलाई करिब एक घण्टा आकाशमा उडाएर । ‘चिसो वर्ष’ को छायांकनस्थल छनोट गर्नका लागि केही स्थानीय साथीहरूसित उकालो चढेँ म, साथमा थिए गाउँपालिकाका अध्यक्ष र उनको जत्था । बाटोमा देखिएका भीमकाय हिमाल र चौँरीका बथानले यति रोमाञ्चित बनायो कि, मलाई सम्झाइदियो सिंगापुरको डिज्नील्यान्डको रोलर कोस्टर चढेको क्षण र बिर्साइदियो खेल्दाको रोमाञ्चक अनुभूति ।
पारि पाखामा चरिरहेका चौँरीहरू छेउ गएँ म फोटो खिच्न । साथीले
सम्झायो, ‘बिस्तारै जानु, चौँरीहरू तर्सिएर भाग्छन् ।’ म बिस्तारै नजिक पुगेँ– क्लिक ∕ क्लिक ∕∕ क्लिक ∕∕∕ अचम्म, चौँरीहरू भागेनन् । बरु पल्लोछेउ पालअगाडि बसेका बुढा गोठाला पछि सर्दै मलाई हप्काउन थाले– ‘नजिक नपर्नु चौँरीको ।’ म पछाडि हटेर भिडियो खिच्न थालेँ । एकै छिनपछि ती गोठाला म भएतिर आए र सम्झाउन थाले, ‘सहरबाट आएको मान्छे, रोग ल्याएको हुन सक्छ, चौँरीलाई नसार्नू ।’ तिनको हाउभाउ हेर्दा लाग्थ्यो, आफूभन्दा आफ्ना चौँरीहरूलाई कोरोना सर्ने डर उनमा थियो । बास बसेको ठाउँमा दिउँसोको भिडियो हेर्दा फ्रेमको देब्रेपट्टि उभिएका गोठाला र दाहिनेपट्टि चरिरहेका चौँरी दुवै उत्तिकै निर्दोष र निश्छल लागे । अनि सम्झिएँ— केही दिनअगाडि मात्र सत्यमोहन जोशी, डा. भगवान कोइराला, आनी छोइङ डोल्मा, शृंखला खतिवडा, दीपकराज सापकोटासँगै मैले रेकर्ड गराएको कोरोनासम्बन्धी जानकारीमूलक भिडियो, जुन सहरका टीभीमा घन्कँदै होला सायद । सहरका मान्छेहरूलाई शिक्षा दिने म, गोठालालाई बुझाउन नसक्ने पनि म । आफ्नो सामर्थ्य सम्झिएर एक छिन खिन्न भएँ ।
दृश्य नं ३ ः याल्बाङ गुम्बा, बिहान– एकाबिहानै उकालो लागेँ याल्बाङ गुम्बातिर, जहाँ भेट्नु थियो वेन पेमा रिग्त्साल रिम्पोचेसँग र मेटाउनु थियो मनभरिको प्यास, सिध्याउनु थियो वर्षौंको प्रतीक्षा । तर, उहाँ त गुफामा छाम (वर्षौँ लामो तपस्या) बस्नुभएको रहेछ । फेरि मन खिन्न भयो । कथामा ट्विस्ट आउनुपर्छ । लिमी भ्यालीका गाउँहरू पुग्नु केहीअगाडि मेरो यात्रा–कथामा पनि नयाँ ट्विस्ट आयो । फोटो मात्र खिच्नलाई डाँडाहरू उक्लिँदा–उक्लिँदै एक्कासि मानसरोवरको तालवारी पुगेछु, जहाँबाट पारि टल्किएको थियो— विशाल कैलाश । पछि थाहा भयो, त्यो त पालिकाअध्यक्ष बिष्णु लामाको सरप्राइज गिफ्ट पो रहेछ मेरा लागि । वर्षौंदेखि बन्दै/पूरा नहुँदै गरेको मानसरोवर– कैलाश जाने योजना अर्को वर्ष सिनेमा सिध्याएपछि जसरी पनि पूरा गर्ने सुर थियो । त्यही योजना आज नचिताएको अवस्थामा पूरा भएको थियो । केही वर्षअगाडि बुबा–आमाले मानसरोवर जाऊँ भन्दा सिनेमाको कामले भ्याइनँ । उहाँहरू बितेपछि पछुतो भएको थियो । लाग्यो, बुबाआमाले मलाई डोर्‍याएर ल्याउनुभयो यहाँ । अनि धन्य भनेँ त्यो स्वर्गीय संयोगका लागि । कैलाशतिर फर्केर ध्यानमा लीन भएँ– शून्य... शून्य... शून्य...।
दृश्य नं ४ ः दुई घण्टाको ध्यानपछि शान्त भएको छ मन । तर, मस्तिष्कचाहिँ डुल्न सुरु गर्छ, मुगु र काठमाडौंतिर । मुगुका खोला किनारहरूमा घन्टौं ध्यानमा लिप्त हुने त्यो बालकलाई पुनर्जन्मका केही छायाहरू मनमा आउँछन् । अनि अनायासै सम्झिन्छु—
किशोरावस्थामै वैराग्यले छोपेर ध्यान र साधनाका लागि शिवपुरिको जंगल, तपोवन, मसानघाट, काठमाडौंवरपरका खोला किनार हुँदै उपत्यकाका गुम्बाहरू चहारेपछि मनमा बलियोसँग गड्यो कि अघिल्लो जुनीमा म तिब्बत र उपल्लो डोल्पाको साल्दाङमा थिएँ । मन भन्छ— अहिले नै डोल्पा जा र भेट् आफ्ना आफन्त र आफू खेलेका पाखाहरू । तर, अहँ अहिलेचाहिँ नाइँ, कुनै बेला लामै फुर्सदमा ∕ अहिले त लिमी भ्यालीका सुन्दर गाउँहरू जानु छ अनि खोज्नु छ, सिनेमाको कथाअनुसारका छायांकन गर्ने ठाउँहरू ।
दृश्य नं ५ ः रारा ताल– बिहान, दिन र रात । लिमी भ्यालीमा उद्वेलित भएको दिमागभरि कुहिरोझैँ मडारिरहेका विचारहरू यतिखेर राराको सुन्दर अनि शान्त मिली चौरमा एकाग्र बनाउँदै छु । ३/४ दिन भयो ध्यानमा मग्न भएको । यतिखेर मनमा न सिनेमा छ, न कथा र न पात्र नै । छ त केवल द्रष्टाभाव अनि विचार– शून्य शून्य ।
दृश्य नं ६ ः त्रिभुवन एयरपोर्ट– बिहान । शान्त मन र खुला दिमाग बोकेर भर्खरै राराबाट फर्केको ठिटोलाई क्याप्टेन सुरेन्द्रले एउटा सानो हेलिकोप्टरमा उपल्लो डोल्पा जान उडाए । जसै म उडेँ मन रोमाञ्चित हुँदै गयो । मुनि लकडाउनले सुनसान काठमाडौं भ्याली देखियो, सधैं गाडीको लर्को देखिने राजमार्ग पनि खुला र शान्त थियो— सँगै बगिरहेको त्रिशूलीझैँ । यात्राभरि क्याप्टेनले अंग्रेजी पप गीतहरू सुनाए– हेडफोनमा । म भने दृश्यमा रमाउँदै थिए, अनि आफूलाई मनपर्ने प्रिय नारायणगोपाल, जोन लेनन र बर्तिका इयम राईका गीतहरू सम्झिँदै र बेलाबेला गुन्गुनाउँदै । डेढ घण्टापछि हेलिकप्टर दुनै बजारको एउटा चौरमा रोकियो ।
दृश्य नं ७ ः दुनै, डोल्पा– बिहान । आफ्नो आहरा भरिसकेपछि त्यस सानी चरीले एक्कासि पुर्‍याई पन्ध्र हजार फिटमाथि, जहाँबाट देखिन्थे बिनारूखबिरुवा सुक्खा डाँडा र ती घेरिएका थिए सेता हिमालले । हरेक दृश्यले मनमा लोभ जगाउँथ्यो— यिनै हुन् मेरा सिनेमालाई चाहिने दृश्य । हर्षले आकाश छोएको मन बोकी ओर्लिएँ म उपल्लो डोल्पाको पहिलो गाउँ धो–तराप ।
दृश्य नं ८ ः धो–तराप, दिउँसो । अघिजस्तो रहेन मन, धो–तरापका गाउँलेहरूसँग कुरा गरेपछि । बहुपति प्रथाको पृष्ठभूमिमा लेखेको कथाका लागि छायांकन स्थलको खोजीमा आएको म, थाहा भयो कि त्यस गाउँका पुरुषले त
आफ्नो पुरानो चलन छाडेर बहुपत्नीको चलन पो बसाइसकेछन् । खिन्न मन बुझाएँ, ‘सधैं सबै आफूले सोचेको अनि खोजेको जस्तो कहाँ हुन्छ र केटा ?’ पहिला–पहिला त्यहाँका मान्छेहरू खेतीपातीमा निर्भर थिए । थोरै भएको जग्गा र सम्पत्ति बन्डा गर्नॅ नपरोस् अनि महिलाहरू विधवा भएर दुःख पाउनु नपरोस् भन्ने सोचले ल्याएको चलन थियो । तर, अहिले मान्छेहरूले पैसा कमाए अनि धेरै सम्पत्ति हुनेहरूले धेरै श्रीमती बनाउन थालेछन् । सोचेँ– हिजो बहुपतिदेखि आज बहुपत्नीसम्म आखिर पीडित हुने महिला मात्रै त रहेछन् । मनमा आयो— सायद यही त होला नि आधुनिकता सँगै आएको परिवर्तन । समाजवाद, सरकारले खोजेको समृद्धि अनि तीन दशकदेखि उठेको सांस्कृतिक र सामाजिक क्रान्तिको कुरा पनि मनमा खेल्यो ।
दृश्य नं ९ ः छार्का गाउँ, दिउँसो । चीनसँग सिमाना जोडिएको छार्का गाउँ आएपछि मनमा लाग्यो कि यो गाउँचाहिँ मेरो सिनेमाको कथाका लागि सबै किसिमले काइदाको छ । आफूलाई आवश्यक मान्छेहरूसँग भलाकुसारी गरेँ र त्यहाँको स्कुलमा गएँ । पुगेपछि थाहा भयो, त्यहाँका गरिब परिवारका नानीहरू पाँच कक्षापछि सधैँका लागि पढाइ छाड्दा रहेछन् र चौँरी गोठालो बन्दा रहेछन् या घरजम गर्दा रहेछन् । कारण– सरकारले त्यहाँको स्कुल प्राविलाई कहिले पनि मावि बनाएन । पहिले–पहिले एक जना फ्रान्सेली नागरिकले पाँच पास भएका सबै नानीहरूलाई काठमाडौँ लगेर पढाउँदा रहेछन् । तर, उनले स्वास्थ्यका कारण प्रायोजन गर्न नसक्ने भएर हात उठाएछन् । गाउँका केही हुने–खाने बच्चाहरू आफ्नै खर्चमा अहिले पनि काठमाडौंमै पढ्दा रहेछन् भने गरिब परिवरका नानीहरू पढाई छाड्दा रहेछन् । त्यहाँबाट सबैभन्दा नजिक गाउँका निमावि स्कुल पुग्न दुई दिन हिँड्नुपर्दोरहेछ । ‘शिक्षामा समान अवसर’ भन्दै घोक्रो सुक्ने गरी बाल्यकालमा लगाएको नारा मन–मस्तिष्क हुँदै दुवै कानतिर गुन्जियो । आफैँलाई ती पढाइ छाड्ने नानीहरूसँग तुलना गरेँ अनि आफूलाई भाग्यमानी ठानेँ । हामीबीच फरक यत्ति थियो कि, म रहरले स्कुलहरू छ्ड्दौ भागेको मान्छे अनि उनीहरू कहरले ।

मोन्टाजहरू – मुगु – फल्यासब्याक
मुगुको गाउँमा एउटा सानो लजालु ठिटो बस्थ्यो र काखीमा रेडियो च्यापेर नारायणगोपालका गीत सुन्दै जंगलमा आफ्नै सुरमा हिँडिराख्थ्यो अनि डाँडाको रूखको टुप्पोमा बाँसुरी बजाएर आफ्नै धुनमा मस्त रहन्थ्यो । उसका सोखहरू अचम्मका थिए— कहिले कुखुराका प्वाँखहरू गनेर बस्थ्यो त कहिले कविता कोरेर जलाउँथ्यो, जमिनमुनि गाड्थ्यो वा खोलामा बगाउँथ्यो । उसको सबैभन्दा मन पर्ने कुरा– दिउँसोमा खोला किनारमा बसेर घण्टौँ बगिरहेको पानी हेर्ने र राति कौसीमा बसेर घण्टौं तारा हेर्दै, गन्दै उज्यालो पार्ने । अपशोच गनेर नसिद्धिँदै भागेर काठमाडौं पस्यो र तारा गन्ने क्रम टुट्यो । डेराको कौसीमा जान पनि निषेध जो थियो । घण्टौँ ध्यान गरेर बस्नु उसको अर्को दैनिकी थियो । काठमाडौं गएर एक दिन सिनेमा बनाउने सपना पनि थियो उसको ।
दृश्य नं १० ः छार्का स्कुल, दिउँसो । मुगुतिर डुल्दै गरेको मन एक्कासि वर्तमानमा फर्कियो, स्कुलको मिसले लगाएको दोचा देखेर । अनि सम्झिएँ– फिक्सन डिजाइनर कुमार नगरकोटीलाई । कल्पना गरेँ, नगरकोटीले पनि
आफ्नो बाल्यकाल यसरी नै बिताए होलान् डोल्पाका स्कुलहरूमा । म हुम्ला जानु सत्र दिनअघि उनले आफ्नो पुस्तक ‘दोचा’ दिएका थिए अनि डोल्पा आउने अघिल्लो दिन दोचाको कुरा गरेका थिए । कुमारको दोचा, आफ्नै सिनेमाको काम र कथा बिर्सेर मलाई किनकिन स्कुलमा पढाउन मन लागेर आयो । मिसको अनुमति लिएर छिरेँ, कक्षाकोठामा । ध्यान र सिनेमालाई अपवाद मानेर जीवनमा जेसुकै गर्दा पनि मनमा यति आनन्द कहिल्यै आएको थिएन, जुन आनन्द अहिले नानीहरूलाई पढाउँदा आएको छ ।
दृश्य नं ११ ः छेलापास, साँझ । १८००० फिटको डाँडामा उभिएर यार्सागुम्बा टिप्ने लोकेसनका लागि भनेर भिडियो खिच्दै गर्दा एक हुल स्थानीय ठिटाहरू आइपुगे । उनीहरू पल्लो गाउँकी केटी भगाउन हिँडेका रहेछन् । भलाकुसारीपछि झोलाबाट आराक निकालेर खान थाले बोतलबाटै । एक जनाले आधा सकिएको बोतल मतिर तेर्स्याउँदै भने, ‘सर यो तपाईंका लागि ।’ लेक लाग्ने डर भए पनि मन राखिदिन एक घुट्की पिएँ अनि फोटो खिच्ने निहँॅमा अलि पर गएर पाखामा भेटिएका बुट्यानका फुलहरू टिपेर हालेँ बाँकी रक्सीमा । अनि त्यो बोतल छेलापासको टुप्पोमा रहेको छोर्तेनमा चढाएँ— योचाहिँ मेरा प्रिय कवि विप्लव प्रतीकलाई, जसले केही महिनाअघि मैले रक्सी उपहार दिएमा फूलको सितनसँग खान्छु भनेका थिए, त्यो पनि मध्यराततिर ।
दृश्य नं १२ ः अञ्जान गुम्बा, राति । मध्यरात पूर्णिमाको उज्यालोमा म एकतमासले हिँडिरहेको छु, डाँडाको गुम्बातिर । गुम्बाको मूलढोकामा पुगेर टक्क अडिन्छु, जहाँ याकको बडेमानको सिङ झुन्डिएको छ । त्यसको दायाँतिर दलाई लामाको ब्ल्याक एन्ड ह्वाइट तस्बिर छ भने अर्कोपट्टि हिटलरको रंगीन तस्बिर छ । मलाई डर लागेर आयो, एक्कासि ढोका ढक्ढक्याएँ । कसैले ढोका खोल्यो— हातमा दियो लिएर मुसुक्क हाँसिरहेका लामा रहेछन् । म त हेरेको हेर्‍यै भएँ अनि हठात् भक्कानिएर रुन थालेँ । लामाले मेरो दाहिने काँधमाथि हात राखेर सोधे, ‘के भयो ?’ ‘गुरु, यो कोभिडले गर्दा मैले सिनेमा बनाउन नपाउने भएँ,’ मैले भनेँ । उनी बोलेनन्, केबल मुस्कुराइरहे । अनि मचाहिँ बेस्सरी रुँदै थिएँ (स्वप्न शृंखला) ।
दृश्य नं १३ ः धो–तराप, बिहान । नेटको खोजीमा एकाबिहानै म क्रिस्टल माउन्टेन स्कुलतिर लाग्छु । मस्तिष्कभरि हिजोको सपना घुमिरहेको छ । करिब पैँतालीस मिनेट हिँडिसकेपछि डाँडामा फर्फराइरहेको लुङ्ताले मेरो ध्यान तान्छ । म झस्किन्छु, सपनामा देखेको गुम्बाजस्तै थियो । उकालो चढ्छु, सरासर । नजिक पुगेर म झसंग हुन्छु, गुम्बाको ढोका देखेर । ढोका बन्द छ अनि ढोकामाथि सपनामाझैँ याकको सिङ झुन्डिएको छ र त्यसको माथिपट्टि दलाई लामाको फोटो छ तर रंगीन । हिटलरको फोटो भने छैन । मनमा अनेक विचार आउँछन्, एक मनले भन्छ— मलाई सपनाले डोर्‍याएर यो सुन्दर गुम्बासम्म ल्याइपुर्‍यायो, जसका लागि धन्य छु । अर्को मन त्यसैत्यसै आत्तिन्छ, डर लागेर आउँछ । बन्द ढोका ढोगेर बेचैन मनसहित फर्किन्छु म ।
दृश्य नं १४ ः धो–तराप स्कुल, बिहान । इमेल चेक गरिसकेपछि म मोबाइलमा समाचार पढ्दै छु— डा. केसी अनशनमा– अवस्था गम्भीर, नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नजिक, विज्ञहरूको समूहले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी ऐतिहासिक प्रमाणसहितको प्रतिवेदन सरकारलाई बुझायो, नेपालमा पहिलोपटक २८ वर्षकी महिलाले पाँच बच्चा जन्माइन्, पाँच नम्बर प्रदेशमा विवाद– सदनमै तोडफोड, संक्रमित संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले बेहोस हुने अवस्था नआई अस्पताल नजान उर्दी । समाचारहरूले खिन्न भएको मन लिएर म पढाउन कक्षाकोठामा पस्छु अनि मन भुलाउँछु । बाहिर आएर चौरमा बसेर आकाशतिर हेर्छु । नीलो आकाशमा एक टुक्रा सेतो बादल मडारिँदै थियो, सायद आफ्नो अस्तित्व वा गन्तव्य यस्तै केही खोज्दै– मजस्तै । अनायासै मनमा आए प्रिय पात्र विजयकुमार, जो गुम्बाको आँगनमा वा बौद्धका गल्लीमा भेटिँदा होस् या आफ्नो किताबमा अथवा फोनमा नै किन नहोस् हरदम अध्यात्म अनि खुसीको कुरा गरी थाक्दैनन् । यस्तो लाग्छ, उनले जीवनको हाईवे छिटो समाते, अरूजस्तै गल्ली र पेटीहरूमा बिलकुल नअल्मलिईकन ।
दृश्य नं १५ ः धो–तराप, दिउँसो । अघि पढेका समाचार र कक्षाका नानीहरू दिमागमा बोकेको म खोला किनारमा गएर बस्छु । एकनासले ओरालो बगिरहेको पानी हेर्दै टोलाइरहेको म । पारिबाट घोडाको लर्को देखिन्छ । उठेर फोटो खिच्न खोज्छु । घोडामा एक जना महिला छिन्, जसको हिजो साँझ खुट्टा भाँचिएको थियो, याक लिन जाँदा भीरबाट लडेर । गाउँको स्वास्थ्य चौकीमा पार नलागेपछि हिँडेका रहेछन् धो गाउँका आम्ची (वैद्य) लाई जँचाउन । मैले फोटो खिच्नलाई हातमा लिएको मोबाइल सर्लक्कै खल्तीमा हालेँ । उनिहरू आफ्नो बाटो लागे, म फर्किएँ आफ्नै प्यारो ठाउँ खोलातिर । खोलामा बगिरहेको पानीमा डा. गोविन्द केसीको प्रतिविम्ब देखेँ अनि सोचेँ— उनी यतै भएको भए । मनमनै भनेँ, ‘अघिल्लो महिना मात्र डोल्पाको तल्लो भेगसम्म आएर पनि तिमी किन यता आएनौ ? अनि ती महिलाको सर्जरी गर्नॅ पर्दैन तिमीले ?’ तर, अहँ केही महिनाअघि यता काम गर्न नदिई नेताहरूले खेदेर धपाएका पो थिए त उनलाई । अनि सम्झेँ— अहिले त उनी एक जना महिलाका लागि होइन, सारा नेपालीहरूका लागि भोकै लडिरहेका छन् ।
दृश्य नं १६ ः धो–तरापको घर, राति । ओछ्यानमा जानेबित्तिकै निदाउने म, आज दुई घण्टा भयो निदाउन सकेको छैन । आफ्नोभन्दा याकको चिन्ता गर्ने लिमी भ्यालीका निर्दोष बाको अनुहार सम्झिएँ, स्कुल छाड्न विवश छार्का गाउँका निश्छल नानीहरू मनमस्तिष्कभरि आउन थाले । समृद्धि, समाजवाद र आर्थिक क्रान्तिले परिवर्तन गरेको याद आयो । आम्चीले माया मारेकी महिला ६ लाख ऋण काढेर काठमाडौं जान हेलिकप्टरको प्रतीक्षामा छटपटाएको पनि याद आयो । यी सबै विषयमाझ म आफ्नो सिनेमा बनाउन यस ठाउँमा आएको छु । तर, यहाँको कथा मेरा पात्र र छायाङ्कनस्थलको कथा र नियति अरू नै केही छ । मनले भन्यो, ‘सक्छस् भने उनिहरूको चहर्‍याइरहेको घाउमा मलम लगा, नत्रभने चुप लागेर बस् ।’ सिनेमा बनाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो लक्ष्य र सफलता ठान्ने यो मन आज पहिलोपल्ट आफ्नो कामको अर्थ खोज्दै छ । आफैँलाई सोध्छु म, ‘के साँच्चै तँ खुसी छस् त ? सिनेमा बनाएर ?’
इन्सर्ट– धो–तरापको घर, बिहान ः फोनको घन्टीले ब्युँझिएँ म । उताबाट एक सासमा बोलिरहेका थिए— डोल्पाका साथी जितेन्द्र झाँक्री, ‘काठमाडौँबाट हेलिकप्टर आउँदै छ, मैले कुरा गर्दिसकेँ । तपाईं तुरुन्त ताक्सी गाउँको खोला छेउको हेलिप्याडतिर जानुस् ।’
दृश्य नं १७ ः खोलाको बगर, बिहान ः झोला बोकेर म हेलिप्याडतिर जाँदै छु । खोलामा मुख धुँदै थिएँ, पछाडिबाट कसैले भन्यो, ‘दाइ, तपाईंलाई रिन्पोचेले बोलाउनुभएको छ ।’ डोल्पो आम्ची नाम्ग्याल रिन्पोचे आफ्नो गुम्बादेखि हिँडेर मलाई भेट्न हेलिप्याड पारि क्याराभान होटेलमा कुरिरहेका रहेछन् । आश्चर्य र खुसीले म छिरिङ भाइको पछि लागेँ ।
दृश्य नं १८ ः क्याराभान होटेल, बिहान ः आँगनमा बसेका चीबरधारी रिन्पोचे मतिर आए अनि मेरो अघि टक्क अडिए । आश्चर्य– अस्ति देखेको सपनामा ढोका खोल्न आउने अनुहार र अहिले मेरो अगाडि उभिएका मान्छेको अनुहार दुरुस्त छ । मैले रिन्पोचेलाई ढोगेँ, उनले ढोग फर्काए र भने, ‘म रिबोभुम्पा गुम्बाबाट ।’ स्कुलमाथिको रातो गुम्बा । अब आश्चर्यले सीमा नाघ्यो, सपनामा देखेको गुम्बा उही, भोलिपल्ट विपनामा दर्शन गर्न जाँदा बन्द गुम्बा उही अनि मेरो अगाडि उभिएका रिन्पोचेको गुम्बा उही– एउटै । यो कसरी हुन सक्छ ? कुन सत्य हो ? कुन भ्रम ? अनि कुनचाहिँ काल्पनिक ? म रन्थनिएँ । उनले चिया मगाए अनि कुरा गर्न थाले । म सिनेमा बनाउन आएको उनले सुनेका रहेछन् । मसँग त्यसै विषयमा कुरा गर्न थाले उनी । म भने उनीसँग ध्यान र अध्यात्मको कुरा गर्न चाहन्थेँ । रिम्पोचेले प्रसङ्गवश भने, ‘हामी ध्यान गर्नेभन्दा ठूलो तपस्वी तपाईँ सिनेमा बनाउने मान्छेहरू हुन् । ध्यान गर्नॅ भनेको तन, मन र आत्मालाई एक ढिक्का बनाउन वर्तमानमा केन्द्रित भई जीवन र
जगत्लाई द्रष्टाभावले हेर्नॅ हो । अनि तपाईंहरू पनि विगत, वर्तमान र भविष्यका वास्तविक वा काल्पनिक घटनालाई एकीकृत बनाई वर्तमानमा बुन्नुहुन्छ । हामीलाई केवल सिर्जित जीवन र जगत्लाई मात्र द्रष्टाभावले हेर्ने छुट छ, तर तपाईँहरू त जीवन र जगतसँगसँगै आफूले सिर्जना गरेका कथा, पात्र, समय र घटनाक्रमहरूलाई वर्तमानमा कथा भन्नुहुन्छ र आफूले कल्पना र सृजना गरेका कुरालाई द्रष्टाभावले हेर्नुहुन्छ ।’
ध्यानपूर्वक रिन्पोचेका कुरा सुनिरहेको म एक्कासि झस्किन्छु, हेलिकप्टरको आवाजले । हिँड्ने बेला आफ्नो पहेँलो झोलाबाट एउटा किताब निकालेर दिँदै उनले भने, ‘बाँकी कुरा तपाईं फेरि यता आएपछि ।’
म रिन्पोचेका सामु निहुरिएँ, ढोगेँ र बिदा माग्दै दौडिएर फर्किएँ हेलिकप्टर ओर्लिएको खोलाको बगरतिर... ।

दसैं विशेष

पुच्छरहीन विश्व सिग्देल

- कान्तिपुर संवाददाता


म निस्कँदा घरबाट
छिँडीको कुकुरले यस्तरी पुच्छर हल्लायो
कि हल्लँदै छन् विजय पताका
महान् योद्धाको जितमा
म सिकन्दर
मुस्कुराएँ
सोचेँ,
यो मेरो रोटीको टुक्रामा बाँच्छ
सक्दो हो त
जसरी हल्लाउँछ सारा घर,
यो हल्लाउँदो हो
गल्ली, टोल र सडक


घरबाहिर
टोलको गल्लीमा
उसैगरी हल्लायो पुच्छर
घरविहीन एउटा कुकुरले
जो यदाकदा
म मातिएर घरमा आउँदा
पाउँथ्यो केही टुक्रा सुँगुरको बोसो,
कुखुराको खुट्टा वा खसीको आन्द्राभुँडी
म चंगेज खान
मुस्कुराएँ
सोचेँ,
यो मेरो रोटीको टुक्राको आशामा बाँच्छ
सक्दो हो त पुच्छरको साटो
यो हल्लाउँदो हो
सहर, देश र समग्र विश्व
पुच्छरको साटो

विरानो ठाउँमा
मेरो ठाँट, रवाफ र अत्तरले लटपटिएर
केही कुकुरहरूले यसरी पुच्छर हल्लाए
कि हल्लाउँदै छन्
पिटिएर समर्थनमा
साराका सारा संसद्का टेबलहरू
म महान् सम्राट् अशोक
मुस्कुराएँ
सोचेँ
यी मेरा रोटीका टुक्राका आशीर्वादका भोका
सक्दा हुन् त
पुच्छरको साटो
यी हल्लाउने थिए निकालेर आफ्नो मगज
जसरी हल्लाइरहेछन् अहिले आफ्ना
विश्वविद्यालयका शैक्षिक प्रमाणपत्रहरू
एक एक इमान, जमान र जिब्रोलाई
राखेर हातमा
यी तैयार देखिएका छन् मोहर राखेर
मेरा खुट्टामा भेटी चढाई ढोग गर्न

म निस्केर गन्तव्यमा पुग्दा
कुकुरको पुच्छर हल्लाउने लामभन्दा लामो लाम
र त्यो लामको पुच्छरमा आफूलाई पाएर
विस्मित छु

सत्यले कुनै सम्बन्ध राख्दैन मेरो विस्मयसँग
सत्य त यो हो
यो हाम्रो युग
पुच्छर नभएका कुकुरको युग भएको छ ∕∕

Page 9
दसैं विशेष

६ गिलास : मान्छेको इतिहास

- रमेश भुसाल

लमजुङको बाहुनडाँडामा चहकिलो जून लागिरहेछ । दिनभरि घामले सेकिएका हिमाल–पहाड जूनको शीतल तापेर सायद सुत्ने तयारीमा छन् । मर्स्याङ्दी यहाँसम्म बग्दो नै छ । केही तल टनेलमार्फत टर्वाइनले झ्याँको झारपेछि सहर–गाउँ झिलिमिली हुन्छन् । त्यो जूनमा मिसिएको छ गाँजाको धूवाँ, कोदोको रक्सी र लेकको भेडा । माथि भीरपुस्तुन गाउँमा पहिलोपटक पुग्न पहाड कोतर्दै गरेको भ्याकु अर्थात् डोजरले लाइट बालेरै भए पनि टिक–टिक–टिक गर्दै ढुंगा फोर्दै छ । पहिला ढिकी–जाता कराउँथे अनि आए मिल, आजकल भ्याकुले सबैलाई उछिनेका छन् । भ्याकु यसरी उकालिँदै छ, मानौँ ऊ जून छुन जाँदै छ । चुचुरोमै पुगे पनि छेउको मनास्लु पुग्ने हो वा अन्नपूर्ण, त्योभन्दा माथि उसको क्षमता छैन ।
जुनेली रातमा मादलको मधुर स्वर नजिकै गुन्जिरहेछ । साथी भीम घलेले भन्यो, ‘रमाइलो गर्न जाम दोस्त ।’ पानैको चौकाले भइयो भेट बेलै र मौकाले भन्ने गीतजस्तो भो । पल्तिर पिलरवाला नयाँ घरको घरपैँचो रे ∕ पिलरवाला घरको धेरै पुरानो इतिहास छैन, यो नयाँ प्रजाति हो । खर वा ढुंगाले छाएको पिँढीवाला घर हराउँदै छ, घुमाउने घर त इतिहास नै हुन लागिसके ।
मर्स्याङ्दी नदीको कथा खोज्न हिँडेका म र नवीन बराल । म कलमले कथा लेख्छु वा कम्प्युटरमा, नवीनचाहिँ क्यामराको लेन्सले । आजकल कलम र लेन्स मिसाएर कम्प्युटरमा हेर्न मिल्ने कथा बनाएपछि मल्टिमेडिया बन्छ । पढ्न, हेर्न, सुन्न सबै पाइने । समाचारमा जमाना यसैको छ । यो समाचारको पिलरवाला घर हो, भर्खरभर्खर आएको, पत्रिका खर र ढुंगाले छाएको घरभन्दा हुन्छ । केही समयपछि पत्रिका घुमाउने घर बन्नेवाला छन् भन्दै छन् ।
७० हजार वर्षअघिदेखि पृथ्वीमा फिँजारिन सुरु भएको मान्छे अर्थात् होमो सेपियन्सको विस्तारित रूप हामी हौँ, अर्को ७० हजार वर्षपछि यो ठाउँ कस्तो होला ? वरिपरिका सेता हिमाल रहिरहलान् ? जून यस्तै होला ? जाबो ७० वर्ष बाँच्ने मानिसले एकबारको जुनीमा अर्बौँ वर्ष पुरानो पृथ्वीलाई कति नै भोग्न पाउँछ र ∕ गत ५०० वर्षमा विज्ञानको चमत्कारले भ्याकु उकालो लागिरहेछ । हामी बिहान गुडेर साँझ बाहुनडाँडा पुग्ने भएका छौँ । जहाजमा उडेको भए यति नै समयमा बेलायत पुगिन्थ्यो । तर, मानिसको यो चामत्कारिक यात्रा कता जाला ? के थाहा यो चमत्कारले मानव इतिहासको अन्त्य गरेर कुनै बिलकुल फरक कुराको सुरुआत पो गर्छ कि ∕ हामी पिलरवाला घरमा छिर्छौं । गीत चलिरहेछ ः

मेरो हजुर विदेशमा हराउँदा
झल्को आउँछ मिनिबस कराउँदा ।
तारासँगै जून, बिर्स्यो कि मायाले मैले लाको गुन

गिलासमा कोदोको रक्सी आइपुग्छ । घलेको स्वागत रक्सीले, बाहुनको चाहिँ दूधले ∕ किन बाहुनले रक्सी पारेनन् वा पिउन सकेनन् वा लुकीलुकी पिए ? किन रक्सीले एउटै ठाउँमा बसेका मानिसलाई विभाजन गरिदियो ? कसैले पिउन हुने कसैले नहुने ∕ पिउने र नपिउनेको जातै फरक ∕
लेखक टोम स्टान्डेजले मानिसको इतिहास ६ वटा गिलासमा हुन्छ भनेका छन् । आफ्नो किताब ‘अ हिस्ट्री अफ वर्ल्ड इन सिक्स ग्लासेज’ मा उनले बियर, वाइन, ह्विस्की (रम, ब्रान्डीसहित), चिया, कफी र कोकाकोलाबारे लेखेका छन्, जुन अहिले बाहुनडाँडास्थित मेरो झोलामा छ । यसपटक हिमाल र नदीसँगै गिलास पनि पछ्याउँदै छु । हजारौं वर्षअघि बियर बन्यो, अहिले कोकाकोलाको साम्राज्य छ । बियर अर्थात् जाँड पहिलो रक्सी थियो । यो बनाइएको थिएन, वास्तवमा आविष्कार भएको थियो । बियरदेखि कोकसम्मको इतिहास पढ्नु आफ्नै इतिहास बुझ्नु हो ।
मानिसले झन्डै १२ हजार वर्षअघि अन्न उब्जाउन सुरु गर्‍यो । वर्षैभरि पुर्‍याउन भण्डारण गर्नुपर्ने भयो । खाल्डोमा पानी नछिर्ने गरी अन्न भण्डारण गरे पनि कतै रसायो वा चुहियो । जब अन्नमा पानी पस्यो तब पहिलो रक्सी अर्थात् बियरको आविष्कार भयो । टोम स्टान्डेज लेख्छन्, ‘चुहिएको पानी जसै अन्नमा पर्‍यो त्यो उम्रियो । उम्रिएको अन्न गुलियो भयो ।’ त्योबेला मानिसलाई के थाहा– कसरी गुलियो भयो ∕ तर, अहिले विज्ञानले पत्ता लगायो, वास्तवमा भिजेको अन्नले डाइस्टास नामक इन्जाइम उत्पादन गर्दोरहेछ । यो इन्जाइमले अन्नभित्र रहेको स्टार्चलाई माल्टोस सुगर अर्थात् माल्टमा परिणत गरिदिँदोरहेछ । सबैखाले अन्नले डाइस्टाज इन्जाइम उत्पादन गर्छन् । तर, जौ सबैभन्दा अव्बल छ ।
त्योभन्दा पनि आश्चर्यजनकचाहिँ झोलिलो अन्नलाई केही दिन त्यसै छाडिदिँदा त्यसमा परिवर्तन आयो । त्यो फिँज निस्केको झोल पिउँदा मस्तमगन पो भए हाम्रा पुर्खा । वास्वतमा त्यसरी छाडिदिँदा हावामा भएको ढुसीले झोलमा रहेको चिनीलाई रक्सीमा परिणत गरिदिन्छ । यही झोल अर्थात् बियर पिएर मेसोपोटामिया वा अहिलेको इराकको सेरोफेरोमा मानिस मस्तमगन हुन सुरु गर्‍यो । जाँडको युग वा मातको युगको सुरुआत गर्ने भूभागमा अहिले रक्सी प्रतिबन्धित छ । त्यसको लामो इतिहास छ । रक्सीमा धर्म मिसियो वा धर्ममा रक्सी ∕ कुनै भगवान्लाई रक्सी नभई नहुने भो अनि कसैलाई छोए पनि पाप लाग्ने ∕ गीत चलेकै छ । दोहोरोबाट एकोहोरो भाकामा सर्‍यो ः

हितको माया नौडाँडापारि
रित्तो भयो पुस्तुनको चौतारी
चाँदी रयाले, घरमा दिल छैन तिम्रो मायाले

कृषियुगको सुरुमा जाँड जंगली मानिसलाई सभ्य बनाउन प्रयोग गरिन्थ्यो । मेसोपोटामियामा जाँड पिउनु मान्छे बन्नु हुन्थ्यो । विश्वकै पहिलो साहित्यिक कृति मानिने ‘इपिक अफ गिलगामेस’ मा बियरका बारेमा उल्लेख छ । जंगली मानिस इन्कुडुलाई सभ्य मानिस बनाउन कृषियुगमा प्रवेश गरिसकेकी युवतीले गोठालाहरूको गाउँमा लान्छिन् । गाउँलेहरूले उसका अगाडि खाना राखे, बियर राखे तर इन्कुडुले रोटी खान वा बियर पिउन जानेको थिएन । युवतीले इन्कुडुलाई भनिन् ः

खाना खाऊ इन्कुडु वास्तवमा मानिसहरू यसरी बस्छन्
बियर पिऊ इन्कुडु वास्तवमा यो जमिनको चलन हो ।

इन्कुडुले भुँडीभरि खायो, सात जग बियर पियो, फुल्यो अनि गायो खुसीको गीत । पानी शरीरमा खन्यायो, तेलले मालिस गर्‍यो र आफूलाई मानिस बनायो ।
तपाईं मानिस भइसक्नुभएको छ, कृपया इन्कुडुजस्तो फेरि मानिस बन्ने धेरै प्रयास नगर्नुहोला । एकपछि अर्को गिलास आइरहेछ । कोही त्यहीँ पल्टेर निदाइरहेछन्, कोही थप रक्सीको ऊर्जाले गीत फुराइरहेछन् र नाचिरहेछन् । परापूर्वकालदेखि नै जाँड नियमले पिइन्थ्यो । जति पायो उति दन्काउने होइन । कामदारलाई हिसाब गरेर राशनमा बियर दिइन्थ्यो । मेसोपोटामियाको राशनमा रोटी, बियर, खजुर, प्याज र कहिलेकाहीं मासु र माछा अनि केही तरकारी दिइन्थ्यो । खजुरमा भिटामिन ए, बियरमा भिटामिन बी, प्याजमा भिटामिन सी हुनेरहेछ । अहिले आधुनिक समाजमा एक जनाका लागि ३५०० सयदेखि ४००० क्यालोरी खानु भन्ने कुरालाई दाँजेर हेर्दा मेसोपोटामियाको राशन एकदम सन्तुलित भोजन थियो भन्ने बुझ्न सकिन्छ भन्छन् स्टान्डेज । हाम्रा पुर्खा बाठा थिए क्यार ∕ जँड्याहा नै भन्ठान्नु भो कि क्या हो ∕ बाहुनको छोरो देखाएर पिउन्न, लुकाएर पिएको भन्नै भएन, कसो ∕
साढे चार अर्ब वर्षअघि बनेको भनिएको पृथ्वीमा झन्डै पन्ध्र करोड वर्गकिलोमिटर त जमिन नै छ । पूरै नेपाल टेके पनि बल्ल करिब डेढ लाख वर्गकिलोमिटर पूरा हुन्छ । एक बारको जुनीमा कति नै भूभाग टेक्न सकिएला र ∕ कसले कति गिलास झ्वाम पारे भन्ने हिसाब म किन
गरिराखूँ ∕ जसले पिलाएको छ, उसैले हिसाब जानोस् । तर, जति पायो उति पिउनु आदिमकालमा पनि राम्रो मानिँदैनथ्यो । बियरपछि मेसोपोटामिया र ग्रीसमा वाइनको दबदबा थियो । पछि रोमनहरूले वाइनको ठूलो व्यापार गरे । ग्रीक कवि युवोलुसको नाटकको कुनै एक भागमा भनिएको छ– असल मानिसका लागि म जम्मा तीन जग वाइन बनाउँछु । पहिलो जग स्वास्थ्यका लागि, दोस्रो प्रेम–आनन्दका लागि र तेस्रो निद्राका लागि । त्यसपछि असल मानिसहरू घर जान्छन् । चौथो मेरा लागि होइन, यो नराम्रो व्यवहारका लागि हो । पाँचौं चिच्याउनका लागि, छैटौं अपमान र रूखोपनाका लागि, सातौं झगडाका लागि, आठौं तोडफोडका लागि, नवौं डिप्रेसनका लागि र दसौं जगचाहिँ पागलपना र अचेतनाका लागि हो । तपाईं कति जगवाला पर्नुभो, आफैँ हिसाब गर्नुस् ∕
मध्यरातमा छर्लंगै आकाशमा टल्किएको जूनलाई कतिबेला बादलले छोप्यो कुन्नि ∕ बिहान उठ्दा त झमझम पानी पो परिरहेको छ । डाँडाकाँडामा सेताम्मे हिउँ । यस्तो मौसमलाई जाँडका पारखीले ‘मौसमले च्यालेन्ज गर्‍यो’ भन्ने गरेका छन् । तपाईं त्यसो भन्नुस् भनेर म कसरी भनूँ ?
घरको पिँढीमा मर्स्याङ्दी मर्किंदै बगेको पहाड अनि कुहिरोले छोपिएका हिमालतिर आँखा लगाएर हातमा उही किताब लिएर बसेको मात्र के थिएँ, बाहुनडाँडैमा घर भएका नवीनकी सानीमा दूध चिया लिएर आइपुगिन् । यो चियाले कुनै बेला साम्राज्य खडा गराएको थियो । रक्सीभन्दा यो कुनै पनि तरिकाले कमजोर थिएन । चिनियाँ भनाइ नै छ– चियाबिना एक दिन बस्नुभन्दा बरु खानाबिना तीन दिन बस्नु ठिक । पृथ्वी हल्लाउने चियाको चुस्की मारेर पाना पल्टाउँछु । १७ औं शताब्दीमा आफ्नो राज्यमा घाम अस्ताउँदैन भन्ने बेलायत चिया व्यापारको केन्द्र बन्यो अनि विश्वको पहिलो महाशक्ति । वाष्प इन्जिनले ल्याएको क्रान्तिलाई उसले भरपूर प्रयोग गर्‍यो र बढेबढे फ्याक्ट्री खोल्यो । यसलाई जोडेको थियो– चियाले । चिया विश्वबजारमा पुगेको थिएन । युरोपेलीका लागि त यो नयाँ पेयपदार्थ थियो । इस्ट इन्डिया कम्पनीको ठूलो आयस्रोत चियाको व्यापारबाट भयो । त्यसपछि चिया यो पृथ्वीकै इतिहासमा पानीपछाडि सबैभन्दा बढी पिइने पेयपदार्थ बन्यो ।
चियामा चीन बेलायतभन्दा अगाडि थियो तर उसले विश्वव्यापी गराउनै सकेन । इसापूर्व २७०० तिर चीनमा पहिलो चिया सेन नुंगका पालामा बनाइएको बताइन्छ । पूर्वी हिमालयको भारत–चीन सीमानजिकै क्यामेलिया साइनेन्सिस नामक सधैँ हरियो हुने बिरुवा नै चिया हो । बेलायत वास्तवमा आधुनिक विश्वको चायवाला हो । नरेन्द्र मोदीचाहिँ नयाँ चायवाला । चिया स्वास्थ्यकर पेयपदार्थ नै मानिन्थ्यो, पछि विज्ञानले पत्ता लगायो– चियामा फेनोलिक्स अर्थात् टानिक एसिड हुन्छ, जसले टाइफाइड, झाडापखाला गराउने ब्याक्टेरियालाई समेत मार्न सक्छ ।
बिहान हामी उकालो लागेर भीरपुस्तुन पुग्छौं । बाटोमा भ्याकु अझै ढुंगा फोरिरहेकै छ । हायलकायल परेका भ्याकु चालकले भने, ‘एकदम कडा ढुंगा परेछ दिमाग खराब भो ।’ लाखौं वर्ष लागेर बनेको पहाड फोर्न कहाँ सजिलो हुन्छ र ∕ भीरपुस्तुनमा हामी घले आमाको घर पस्छौं । ‘जाँड छैन केरे बाबु, कफी खान्छौ ?’ घले आमाले सोधिन् । ज्या कफी पो ∕ भ्याकु पुगेको छैन तर कफी पुगिसकेछ । उही नेसकफीको गिलास आइपुग्यो । यो त ज्याद्रो कफी हो, जुन सन् १९५३ मा इडमन्ड हिलारी र तेन्जिङ नोर्गेसँग सगरमाथा पुग्यो अनि सन् १९६९ मा यो निल आर्मस्ट्रंगसँग चन्द्रमा पनि । इतिहास हेर्ने हो भने कफीले बडेबडे अध्येता, विचारक अनि वैज्ञानिकलाई जन्माएको थियो । यसलाई विचारकको पेय पनि भनिन्छ । तपाईं धेरै विचारक बन्ने प्रयास नगर्नुस् नि फेरि ∕ क्याफिन धेरै भयो भने रातभरि निद्रा लाग्दैन ।
१६ औं शताब्दीअघिसम्म मानिस ‘पृथ्वी गोलो छ’ भन्नेसम्म पनि विश्वस्त थिएन । अहिले पो गुगल अर्थ आयो । रकेट चन्द्रमामा पुगे । त्यो कति नै अघिको कुरो हो र ∕ पश्चिमाहरूले पुराना कथाभन्दा माथि उठेर नयाँ कुरा सोच्न थाले । एकपछि अर्को आविष्कार गरे । संसार चहार्न हिँडे । हरेक पुराना कुरालाई चुनौती दिने चलन सुरु गरे अनि प्रमाण खोज्न लागे । युरोपमा यो चुनौती दिने युगको सुरुआत गर्न कफीको ठूलो भूमिका थियो भनिन्छ । कफीले दिमागलाई तिखो बनाउँछ र विचारमा स्पष्टता ल्याउँछ भन्ने मान्यता अहिले पनि छ ।
१७ औं शताब्दीसम्म पनि बिहानको खाजामा समेत बियर वा वाइन पिउने युरोपेलीहरूमा ठूलो परिवर्तन आयो । कफीले द्रुत गति लियो । रक्सीमा डुबेको पश्चिम युरोपेली देशहरूका लागि कफी बुटी नै बनेर आयो । झ्याप नभईकन बहस गर्न सकिने । दिमागलाइ ऊर्जा दिने । निद्रा भगाउने । कफीले रक्सीको प्रभावलाई घटाइदिन्छ भन्ने भ्रम पनि थियो तर त्यो सत्य थिएन । वास्तवमा यसले रगतबाट रक्सी हराउने दर झन् घटाइदिन्छ भनेर विज्ञानले भन्छ ।
रक्सी पिउन वर्जित अरबका मुसलमानलाई त कफी नलाग्ने वाइन बनेर आयो । आज कफीमा चर्चित मोका वास्तवमा यमनको मोका सहरबाट आएको हो । १६ औं शताब्दीको सुरुमै यो अरबमा सामाजिक पेय भएको थियो । विवाद बढ्दै गएपछि मुसलमान समुदायमा केही समय प्रतिबन्ध लगाइयो तर त्यसलाई जनताले उल्लंघन गरे । अरबका मुसलमान समुदायमा निकै ठूलो बहस सुरु भयो । कफी मादकपदार्थ हो वा होइन भन्नेमा विवाद चल्यो । तर, कफीले आफ्नो लय भने छाडेन । यो झन्–झन् लोकप्रिय हुँदै गयो । अरब १७ औं शताब्दीको अन्तिमसम्म कफीको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता थियो । तर, कफीमा अरबको एकाधिकार त्यसपछि तोडियो जब डचहरूले अहिलेको इन्डोनेसियाको जाभामा कफी खेती सुरु गरे र सीधै नेदरल्यान्ड्स पुर्‍याउन थाले । अहिले विश्वव्यापी भएको छ ।
जताजता खोला–नदी, उतैउतै टर्वाइन् । मर्स्याङ्दीको शाखा नदी न्यादी शिरतिर पुग्दासम्म पनि टनेल बनिरहेका भेटिन्छन् । धूलो नभए पनि मानिसहरू मास्क लगाएर बसेका । केही चिनियाँ कामदार भर्खर बिदा मनाएर फर्केकाले कोरोना भाइरसको त्रास रहेछ । अजंगका पहाड हेर्दै गर्दा मनमनै भने, ‘अरे यार एक भाइरस् विश्व हल्लाइरहेछ तर मनुवाहरूको घमण्ड कत्रो छ ∕ १२ हजार वर्षपछि बल्ल हात कसरी धुने भनेर सिकिरहेको मनुवा पृथ्वीमाथि धावा बोल्छ र फुर्तीसाथ भन्छ— पृथ्वीमाथि विजय प्राप्त गर्नु छ ∕
मर्स्याङ्दीको पुरानो बलौटे माटोमा फैलिएको बेंसीसहरमा दुई हजार घरधुरी नाघिसके । केही मानिस एउटा होटलमा मस्त पिइरहेछन् । दिउँसै भोड्कादेखि ह्विस्कीसम्म । बियरपछि वाइन, त्यसपछि १२ शताब्दीतिर औषधि बनाउने प्रयासमा कडा रक्सी अर्थात् हार्ड ड्रिंक्स बनेको थियो । अहिलेको खोयाबिर्के बनाउने तकनिकी अर्थात् डिस्टिलेसन त्यहाँबाट सुरु भयो । युरोपेलीले ह्विस्की बेचर दाम कमाए अनि राज चलाए । अलि सस्तो रमचाहिँ अमेरिकाले बनायो र तहल्का मच्चायो । रमलाई त अमेरिका बनाउने पेय पदार्थ नै भनिन्छ ।
नदी किनारमा लगेर फोहोर थुपारेका छन् बेंसीसहरेले । त्यसैको छेउमा एक हूल बंगुरपालन । ती रेस्टुराँमा पुग्दा पोर्क बन्छन् । किनारमा फोहोरचुली अनि शिरमा हिलामचुली । मर्स्याङ्दीको कथा एउटै फोटामा कैद गरेपछि हामी दक्षिण हानिन्छौं । कतै सुकेको त कतै ताल परेको मर्स्याङ्दी । फोटो खिच्न पनि नपाइने रे ∕ कसैले पूरै नदी टनेलमा हालेर बिजुली निकाल्न पाउने, हामीले फोटो पनि खिच्न नपाइने ? पत्रकार साथी चन्द्रकान्तमार्फत सोर्सफोर्स लगाएर मध्य–मर्स्याङ्दी ड्यामको फोटो खिच्यौं । सेनाको लामो सोधपुछ र प्राधिकरणका हाकिमले भन्दिएपछि सो अवसर मिलेको थियो । ‘पहिला बुंगै पौडेको यही नदीमा आज फोटो खिच्न पनि सीडीओको तोक आदेश अनि सेनाको अनुमति चाहिने भो यार ∕’ चन्द्र जिस्किए । कोरोनाको त्रासले होलीको रङ खुइल्याइदिएकाले मानिसहरू खासै जमेका छैनन् । तर, बाटाबाटामा रक्सी, बियरले आफ्नो ड्युटीचाहिँ राम्रैसँग गरिरहेका छन् । त्यसै जाँडले संसार कहाँ हल्लाएको हो र ∕
हामी पनि के कम ∕ मलेखुमा उही मेसोपोटामियाको त नभनौं, युरोपको बियर पिउँदै गर्दा चालक भाइले भने— म त कोक खान्छु ∕ यो मेरो कथाको अन्तिम गिलास हो । कोकको साम्राज्य अर्थात् चिसो भनेकै कोकाकोला । औद्योगिक क्रान्ति बेलायतबाट सुरु भए पनि यो अमेरिका पुगेपछि वास्तवमा मौलाएको थियो । सन् १९०० तिर बेलायतलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको अमेरिकाको विश्वव्यापीकरणमा कोकाकोलाको निकै ठूलो हात थियो । जसरी बेलायतको साम्राज्य चियाको कपमा देख्न सकिन्छ, त्यसैगरी अमेरिकी साम्राज्य कोकाकोलाको गिलासमा ।
बेलायती वैज्ञानिक जोसेफ प्रिस्लेले १७७२ मा किताब लेखे– ‘पानीमा गर्भ बसाउँदा’ । पानीभित्र कार्बनडाइअक्साइड मिसाएर सोडा–पानी बनाउने तरिका । १९ औं शताब्दीको सुरुमा यल विश्वविद्यालयका प्राध्यापक बेन्जामिन सिलिम्यानको सहयोगमा पहिलोपटक सोडा–पानीको व्यापार अमेरिकामा सुरु भयो भनेर स्टान्डेज लेख्छन् । सोडा–पानीलाई वास्तवमा प्रजातन्त्रसँग दाँजेर अमेरिकीहरू भन्थे— धनीले स्याम्पेन पिउन सक्छ, गरिबले बियर तर दुवैले चाहिँ सोडा पानी पिउँछन् ।’
१८८४ मा अमेरिकी फर्मासिस्ट जोन पेम्बर्टनले दक्षिण अमेरिकामा पाइने कोका अर्थात् कोकिन बन्ने बिरुवा र पश्चिम अफ्रिकाको कोला नामक बिरुवाबाट निकालिएका पदार्थ मिसाएर कोकाकोलाको फर्मुला बनाएका थिए । पछि एसा क्यान्डलरले पेम्बर्टन मरेपछि १८८८ मा कोकाकोला आफ्नो जिम्मामा लिए, जम्मा २३ सय डलरमा । कोक भुसको आगोजसरी संसारमा फैलियो । मलेखुनजिकै त्रिशूली नदी किनारमा त्यो कोकको बोतल यसरी ठडिएको छ, मानौँ ऊ सगरमाथा टेकेर भर्खर झरेको हो र नदी किनारमा डुब्दो घामतिर फर्केर थकाइ मारिरहेछ । जसै अमेरिकाले पुँजीवादको किल्ला विस्तार गर्दै गयो, कोक त्यसको सहयात्रीको रूपमा अगाडि बढ्यो । अनेक प्रयास गर्दा पनि रुस छिर्न नसकेको कोकाकोलाको अझै चम्किला दिनचाहिँ बर्लिनको पर्खाल ढलेपछि आयो । पूर्वी जर्मनहरू पर्खाल फुटाएर जब पश्चिम पसे, उनीहरूलाई कोकाकोलाले स्वागत गरियो । विश्वका कतिपय देशमा अमेरिकाको विरोध गर्दा कोकका बोतलहरू सडकमा खन्याउने गरिन्छ । कोक अमेरिकी पुँजीवादको एउटा सिम्बोल बनेर उभिएको छ ।
‘थानकोट पुग्नू धूवाँ चाख्नू ∕ पहिला गु गनाए गाउँ आयो भनी बुझ्नू’ भन्थे, अहिले एक सर्को धूलो पिएपछि सहर पुगियो भन्ने बुझ्नुपर्छ । धूवाँ फोक्सो हल्लाइरहेछ तर भीमले छुट्टिने बेला गाएको गीतले चाहिँ मन–मुटु हल्लाइरहेछ ः

हिउँद लाग्यो हिमालको शिरबाट
बर्खा लाग्यो खोलीको तीरबाट
हेर्दा राम्रो हिमालको हिउँजस्तो
यो मुटुको टुक्रा नै दिऊँजस्तो

 

दसैं विशेष

शक्ति र प्रेम

- मोमिला

 

हे ईश्वर !
तिम्रो अध्यक्षतामा भइरहेको
आँसुको सम्मेलनमा
अचानक म हाँस्न पुगेछु
मलाई क्षमा गर ईश्वर !

आज, म
हाँसोको सम्मेलनमा हाजिर छु
बाटै छेक्ने कति घाउहरूको पर्खाल
आँसुको बाढीले भत्काएर
केवल तिम्रो दर्शनार्थ
यहाँसम्म आइपुगेको छु, ईश्वर !

म त तिमीमाथि भरोसा राखेर
कतै पुगिन्छ कि भनी हिँडिरहकै छु
तर, पुग्नुको कुनै आभास छैन
हे ईश्वर ! 
यतिखेर म बिल्कुल शून्यमा छु, शून्यमा !

कतै तिम्रो शक्तिमा पनि
अहङ्कारको सेपले
प्रेम बिल्कुल मुर्झाएको त होइन !

हुन त तिमी पनि एक्लो छौ ईश्वर !
यसर्थ तिमीले
जगत्मा विश्वास साँचेको मान्छेमै
अन्तिम भरोसा खोज्यौ

तर, यो देशले जस्तै
तिमीले पनि
शक्ति र प्रेम एकसाथ भएको मान्छे
सायद, कहिल्यै भेटेनौ !

Page 10
दसैं विशेष

अनि सारंगीले मुद्दा जित्यो

- यादव देवकोटा

मेरी हजुरआमा बित्नुभएको थियो, जब हो कि होइन भन्ने स्तरको रमरम सम्झना जम्मा गर्न सक्ने उमेरमा थिएँ म । त्यस्तै झल्कोजस्तो लाग्ने सम्झना छ— हजुरआमाको, हाम्रो भेगका एक जना चर्चित ‘गाइने’ लालबहादुरले घरको आँगनमा बसेर हजुरबाको कर्खा गाएको र हजुरआमा फलैंचामा बसेर हत्केलामाथि चिउँडो राखेर सुकसुकाइरहनुभएको ।
धेरैपछि जब घ्याम्पेसाल बजारमा एक दिन लालबहादुरले फेरि गाए हजुरबाको कर्खा, म फेरि पूर्वस्मृतिमा डुबें । हजुरआमाको त्यही हो कि होइनजस्तो सुँक्क–सुक्क सम्झनालाई मनको रिलले घुमाएर ल्यायो ।
त्यसपछि पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारकालीन चर्चित मणिराम गाइनेका दरसन्तान लालबहादुर समयको एउटा लामो खेलोमा कसरी गोर्खाको पाखोबाट उठेर रेडियो नेपाल आइपुगे, राजा महेन्द्रलाई गीत सुनाए र यताको सानसौकत सबै चटक्कै छोडेर मध्यउत्तरी गोर्खाको एउटा टुहुरो पाखोमा अडिन पुगे, रैथाने अवलाहरूको दर्दलाई सारंगीको तार रेट्दै परम्परागत गाइने लयमा आकार दिए भन्ने खोजी गरें । गाउँबाट सहर आउनु, यता स्थापित हुनु, शक्तिशाली पञ्चायती रजगज चलाएर बसेका राजा महेन्द्रसम्म आफ्ना गीत सुनाउन पुग्नु र त्यो सबै चमकधमक छोडेर आजभन्दा ५० वर्षअघि सुटुक्क पूर्णरूपेण ग्रामीण बस्तीमा फर्कनु एउटा दुस्साहसजस्तो थियो ।
त्यसको मोल लालबहादुरले राम्रैसँग चुकाए । यता काठमाडौंमा स्थापित भइसकेका रेडियो नेपालका गायक लालबहादुर बिस्तारै बिर्सिइए । गुमनाम भए, सहरको हल्लीखल्लीबाट । सहरमा हल्लाबाजहरू समक्ष अनुहारको हाजिरी जनाउनुपर्ने, यहाँ बसेर गाउनेलाई मात्र चर्चा दिने परिपाटीको मोल यो सहर छाडेर गाउँ रोज्ने लालबहादुरले चुकाए । आफ्नै भेगमा रमाए । उतैका दमितहरूको वेदनालाई लोकलयमार्फत आवाजको इतिहासमा रेकर्ड गरिदिए । गाउँले अगुवाहरूको कर्मलाई कर्खामार्फत समयको सम्झनाका लागि दर्ता गराइदिए । मेरा हजुरबा रविलाल देवकोटाको कर्खालाई लालबहादुरले त्यही सिलसिलामा सारंगी रेट्दै लय दिएका थिए । उनले आफ्नो भेगका कैयन रविलालहरूको कर्खा फलाकेका थिए । कैयन दुखियाहरूको वेदना भट्याएका थिए ।
तिनको त्यही गुनको पैंचो तिर्न ‘घ्याम्पेसाल–काठमाडौं सेवा समाज’ ले गएको पुस २६ गते काठमाडौंको प्रज्ञा भवनमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ– २०७६’ आयोजना गरेको थियो । मेरा गुरु नारायण बोहरा र मित्र अर्जुन भट्टले आर्थिक, भौतिक जोहो मिलाउन मिहिनेत गरेको कार्यक्रमको सञ्चालन गर्न मञ्चमा उभिएको मलाई कसैले एउटा जानकारी थमायो, गोर्खा पालुङटार, ठाँटीपोखरीका रामबहादुर गन्धर्वबारे । त्यसयताका नौ महिनामा रामबहादुर गन्धर्वबारे मैले जे जानकारी जम्मा गर्न सकें, त्यही विवरणमा यो लेख केन्द्रित रहनेछ ।

राजा महेन्द्रको ‘देशको आत्मा’
रामबहादुर पनि तिनै गोर्खा भाँवाबारीका पृथ्वीनारायण शाहकालीन मणिराम गाइनेका दरसन्तान थिए । मणिराम गाइने र बिसे नगर्ची गोर्खा दरबारमा मंगल र शोक धुन बजाउने वाद्यवादक थिए । तिनले पृथ्वीनारायण नेतृत्वका अनेक युद्धमा सँगै सहभागिता जनाएका थिए । पृथ्वीनारायणसँगै नुवाकोट भिडन्तमा मणिराम सामेल भएको गोर्खालीहरूको सैनिक इतिहास पुस्तकमा उल्लेख भएको पाइन्छ । बिसे नगर्ची युद्धमा सामेल लडाकुहरूलाई हौसला दिन नगरा बजाउँथे । मणिराम (कतै मनिरम पनि उल्लेख गरेको पाइन्छ) वीरताको कर्खा भट्याएर गोर्खाली लडाकुहरूको हौसला बढाउँथे । लडाइँमा हार भए विरह धुन भट्याउँथे । लडाइँमा मारिएका लडाकुहरूको खबर तिनै मणिराम सारंगी रेट्दै शोक धुन निकालेर परिवारलाई सुनाउँथे ।
तिनै मणिराम र उनका खलक गन्धर्वहरू अहिले गोर्खामा यत्रतत्र छरिएका छन् । उनैका दरसन्तानको एउटा लहरोबाट तन्किएको देखिन्छ— रामबहादुर गन्धर्वको परिवार । ठाँटीपोखरी, धारापानी मगरगाउँमा उनका पुर्खाहरू बसोवास गरिआएका थिए । त्यही धारापानीका टिके गन्धर्वका दुई भाइ छोरा भए, लुरे र रामबहादुर गन्धर्व । टिके गन्धर्वका कान्छा छोराका रूपमा रामबहादुरको जन्म विसं १९९३ जेठमा भएको थियो ।
तिनै रामबहादुर विसं २०२२ मा काठमाडौंमा आयोजित गन्धर्व सम्मेलमा भाग लिन गोर्खा भेगका थप दुई गन्धर्वहरू लालबहादुर र वीरबहादुरसँगै पैदल हिँडेर खोपलाङ–चोरकाटे–निवेल–खान्चोक भन्ज्याङ–पन्ध्रकोसे–चरङ्गेफेदी–मामरी–त्रिशूली–बट्टार–रानीपौवा–धरमथली–डुक्रुनेपानी हुँदै बालाजु उत्रिएका थिए, चार दिनको पैदल यात्राबाट । विसं २०२२ अघि महेन्द्रले देशव्यापी लोकगायनको सम्मेलन आयोजना गरेका थिए । त्यसमा सारंगी बजाउने गन्धर्वहरूको उपस्थिति नदेखेपछि महेन्द्रले सम्मेलन आयोजना गर्न खटाइएका धर्मराज थापालाई सोधेका थिए— सबै बाजा आएको देखें तर देशको आत्मा नै छुटेछ धर्मराज !
त्यसपछि राजा महेन्द्रको शब्दमा ‘देशको आत्मा’ अर्थात् सारंगी बजाउने गन्धर्वहरूको राष्ट्रिय सम्मेलन गर्न कस्सिए धर्मराज महेन्द्रको आदेशमा । त्यही छेकोमा गोर्खाबाट बोलाइएका गन्धर्वमध्येमा परेर काठमाडौं उत्रिएका थिए— रामबहादुर ।

जनसाधारणका इतिहासज्ञ
काठमाडौं भेलापछि तीनमहिने तालिम भयो । त्यसबखत गीत रेकर्ड गर्ने, बजाउने एउटै गोरेटो थियो, जो जताबाट तन्किए पनि टुंगिन्थ्यो रेडियो नेपालमा पुगेर । रामबहादुरले पनि त्यसरी केही गीतहरू गाए । रेडियोमा ती गीतहरू बजे उनको संकलनमा, स्वरमा । कति उनको नाममा रेकर्ड भए, कति उनले संकलन गरेको, गाएको गीत पछि अरूले नै गाए, उनलाई संकलकसम्मको श्रेय पनि नदिई ।
रेडियो नेपाल र काठमाडौं उनको स्थायी मुकाम थिएन । यो चिने–खेलेको भूगोल थिएन उनको । रेडियो नेपालले दिने गीतबापतको सामान्य रकमले जिन्दगी चल्न नसकेपछि उनले काठमाडौंका घरघरमा गएर गीत गाउने काम पनि गरे । गाउँघरमा जस्तो दुःखसुखको गीत गाउँदै हिँड्ने गन्धर्वप्रति काठमाडौंमा उति सम्मोहन र आत्मीयता भेटेनन् उनले ।
जनजाति बहुल पहाडी गाउँघरबाट धेरै तन्नेरीहरू भारतीय र बेलायती गोर्खा सैनिकको ‘लाहुर’ मा गएका हुन्थे । रामबहादुरको भेकबाट गुरुङ, मगर, घले, क्षत्रीहरू त्यसरी मुग्लानको लाहुरमा लगिएका हुन्थे, गएका हुन्थे, गाउँगाउँ पसेर रिक्रुट खोजी हिँड्ने ‘गल्ला’ हरूबाट । त्यसबखत त्यसरी लाहुर गएकाहरू विभिन्न देशमा भएका युद्धमा सामेल गराइन्थे । कोही घरमा वृद्ध बा–आमा, कोही आलो सुत्केरी श्रीमती त कोही नवविवाहिता पत्नी छाडेर लाहुर गएका हुन्थे । परिवारको थाप्लोमाथि बज्रिएको गरिबीको निस्लाम चुटाइको दुःख पखाल्न केही सय भारु तलबका लागि उनीहरू अरूकै खातिर लड्थे, अरूकै खातिर मर्थे । कतिपय अंगभंग भएको घाइते शरीर लिएर फर्कन्थे । त्यसरी मरेकाहरूका पल्टनका पल्टने साथीहरूले पठाएको धागोले बाँधिएका चिठीहरू आइपुग्थे महिनौंपछि गाउँघरको ठेगाना खोज्दै खोज्दै । त्यही चिठी वाचिदिन पनि कुरिबस्नुपर्थ्यो गाउँले शिक्षक या साँवा अक्षर फुटाउन सक्ने गाउँमै मुस्किलले भेटिने साक्षरहरू ।
जब धागोले बाँधिएका चिठीहरू पढिन्थे, गोलो लागेर खबर सुन्न थुप्रिएका गाउँले अवलाहरूको कोलाहलपूर्ण रुवावासी सुरु हुन्थ्यो । गाइने दाइहरू नै थिए, जो त्यो वेदनामा मलम लगाउन सारंगीको तार रेटेर विरहको धुन झिक्थे । दुःख तिम्रो मात्रै होइन, अरूमाथि पनि यस्तै भएको छ भन्दै अन्यत्रका त्यस्तै घटनाहरूको बिलौना भट्याउँथे र शोकमा डुबेका परिवार, समाजलाई ढाडस दिन्थे, सान्त्वना दिन्थे । जिन्दगीमा भैपरि आउने शोकहरूलाई समन गरेर जीवनको नियमिततामा फर्कन उत्प्रेरित गर्थे ।
पुरानो घटना सुनाएर नयाँ दुःखीहरूको घाउमा मलम लगाउने कोसिस गर्थे । अनि नयाँ दुःखीहरूको जीवनमा बज्रिएको शोक र घटनाको विवरणलाई सारंगीको विरही धुनमा मिसाएर गाउँगाउँ डुलेर सुनाई हिँड्थे । देशका नागरिकलाई विदेशी फौजमा बेचेर सत्तामा सवार भई मदमस्त अट्टहास गर्नेहरूको नाममा लेखिने इतिहासमा उल्लेख नहुने तमाम अगणित जीवनको हिसाब तिनै गाइने दाइहरूले दर्ता गरिदिन्थे लोकलयका माध्यमबाट गाउँलेका मनमा । पाखो, पखेरोको जीवन चलायमान बनाउन फोकल्यान्ड या मलायाहरूमा रगत बगाएकाहरूलाई नभुलोस् समय, भूगोलले भनेर । गाइनेहरू सूचनाका संवाहक थिए, दुःखसुखका साथी थिए, आफ्नो समयको कथावाचक इतिहासज्ञहरू थिए ।
त्यही कर्मको, योग्यताको, योगदानको जमिनमा उभिएर सुखम–दुःखम जिन्दगी चलाइआएका ग्रामीण गाइने थिए– रामबहादुर । सहरमा रत्तिन सकेनन् । र, फर्किए सहर आउँदा लिएको सारंगी बोकेर आफ्नै माटोमा । संयोग मिलेको बखत काठमाडौं आउने, गाउने र फेरि गोर्खा फर्कने क्रम चली नै रह्यो । त्यही क्रममा उनले गाएका थिए, ‘माछी छ पियारी गंगाको तालैमा’, ‘हेर माया पानको पात’, ‘यो नानीको शिरैमा’, ‘धानको बाला’, ‘जयदेवी भैरवी’, ‘जाइरित्री झमझम’, ‘कौसीमाथि झ्याल’ जस्ता बोल भएका गीतहरू ।

जति गीत गाएका छन् रामबहादुरले, ती हिजोआज प्रचलनमा छैनन् । रेडियो नेपालले ती गीत आफ्नै लाइब्रेरीमा छ भन्ने पनि सायद भुलिसक्यो । उसो त रेडियो नेपालका जागिरेहरूको चाकरी नगर्ने र तीसँग निकटता नहुने आजैका गायकहरूको गीत पनि बजाउँदैन रेडियो नेपालले सितिमिति । रेडियो नेपालको लाइब्रेरीमा भएका र यताका वर्षौंदेखि नसुनिएका गायकबारे सोधीखोजी गर्ने फुर्सद अन्य सञ्चार संस्थासँग पनि नभएको भान हुन्छ ।
अब त झलकमानका गीत नै पनि बजाउन छाडेका छन् सञ्चारमाध्यमले । यसो तिथि, श्राद्धमा सम्झिने, बजाउने कुरा बेग्लै हो । नत्र रामबहादुरका उल्लिखित गीत सदाबहार बजिरहने गीत हुनुनपर्ने कारणै छैन ।

यो माछी छ पियारी गंगाको तालैमा
मारी ल्याइदेऊ पियारी हजुरको जालैमा...
कौसीमाथि झ्याल
कल्ले जान्छ र करिमाको ख्याल...
हेर माया पानको पात
आधी ढिँडो आधी चैं खाउली भात
मर्स्याङ्दी सलल...
यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो
मगमग चल्यो बासना...

गीतमा गोलमाल
रामबहादुर स्थानीय घटनाहरूलाई गीत बनाएर सारंगी बजाउँदै भाका हालेर गाउन खप्पिस थिए । त्यस्ता अनेक यथार्थ घटना प्रचलनमा छ, रामबहादुरको गाउँमा । स्थानीय उपप्रधानपञ्च थिए गोपाल गिरी । तिनले ०२५/०२६ सालतिर पृथ्वी राजमार्ग विस्तारका बेला मलेखुमा कामदार सप्लाई गर्ने काम गर्थे । मलेखु–सल्यानटार–पालुङ्टारको यात्रा क्रममा सल्यानटारकी एक विवाहिता महिलासँग उनको पिरती बस्यो । पछि ती महिलालाई लालाबालासहित बिहे गरेर ल्याए गिरीले । गिरीको पनि पहिल्यै विवाह भइसकेको थियो । त्यसले गिरीको परिवारमा निकै झैझगडा उत्पन्न गरायो र गाउँ नै तरंगित बनायो ।
रामबहादुर गाउँघरका यस्तै घटनालाई गीत बनाएर वरपरका कैयन गाउँमा गाउँदै अन्नपात जम्मा गर्दै हिँड्थे कहिले आफ्ना छोरासँग, कहिले श्रीमतीसँग, कहिले एक्लै । गीत गाउँदै उनी बन्दीपुर, दमौली, रिसिङ, डुम्रे, धरमपानीसम्म पुग्थे । तीन, चार घण्टाको दूरीमा छ तनहुँको रिसिङ उनको गाउँबाट । खेतिपाती सकेपछि उनी रिसिङ भेगमा गीत गाउन जान्थे । आफ्नो गाउँ, स्थानीय ठाउँ, देखे–जानेको त्यही गोपाल गिरीको घटनालाई जोरजाम गरेर उनले गाए एउटा गीत, त्यही रिसिङमा गाउँदै डुल्दै हिँड्ने क्रममा—

‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो
मगमग चल्यो बासना
अंकुसेले तानौं कि झटारोले हानौं कि
यो नानाीको शिरमै मोहनी
हामी पनि रिसिङको तिमी पनि रिसिङको
लाइदिऊँ माया एकै किसिमको
चोली दिउँला मखमली सारी दिउँला फाइवर
मै हुँ कान्छी रेलको डाइवर
अनिदोले हो कि मोहनीले हो कि
यो नानीको शिरै ढल्केको
पालुङटारको गोरुले सल्यान गाउँको बीउ खायो
कान्छी ल्याउँदा जेठी जिल खायो...’

यो गीत रामबहादुरले रेडियो नेपालमा पनि गाएका थिए । रामबहादुरकी पत्नी नमकुमारीका अनुसार, उक्त गीत रेडियो नेपालले ०३२/०३३ सालतिर निकै बजाउँथ्यो । तर, रेडियो नेपालमा भने यो गीतका संकलक र गायकमा रामबहादुरको नाम भेटिँदैन । रेडियो नेपालको संगीत लाइब्रेरीको रेकर्डमा प्रेमध्वज प्रधानको नाममा यो गीत दर्ता भएको देखिन्छ, गायकको रूपमा भने संकलकको नाम खाली देखिन्छ (पंक्तिकारले २०७६ चैत ३ गते रेडियो नेपालको संगीत लाइब्रेरी पुगेर गरेको खोजबिन) ।
रेडियो नेपालको डिजिटल संगीत लाइब्रेरीको विवरणअनुसार, रामबहादुरको नाममा दर्ता भएको गीत ‘धानको बाला’ को लाइब्रेरी नम्बर ६१४, ‘माछी छ पियारी’ को २०९, ‘हेर माया पानको पात’ को २६२५, ‘जयदेवी भैरवी’ को २६२८, ‘बाँचुन्जेल तिम्रै’ को ३७३, ‘जाइरित्री झमझम’ को ३३७, ‘कौसीमाथि झ्याल’ को ७०२ छ ।
०३८/०३९ तिर रामबहादुरले गाउँघरतिर भनेका रहेछन्, ‘प्रेमध्वजले २०० दिए अनि गाउन दिएको ।’ यस प्रकरणबारे जानकार अब एक मात्र पात्र जीवित छन्, सुप्रसिद्ध गायक प्रेमध्वज प्रधान । रामबहादुरको निधन विसं २०५५ सालमा भइसकेको छ भने झलकमानको पनि निधन भइसक्यो ।
पंक्तिकारले प्रधानसँग सो प्रकरण र पारिश्रमिकबारे जिज्ञासा राखेको थियो । उनलाई सोधियो, ‘रामबहादुर गन्धर्वलाई उक्त गीत संकलनबापतको पारिश्रमिक रु. दुई सय दिनुभएको हो ?’ प्रेमध्वज भन्छन्, ‘०४० सालतिर झलकमानसँग लिएर मैले रेकर्ड गराएको हुँ । त्यसरी रामबहादुरलाई पैसा दिएर उहाँले गाएको गीत मैले लिएको होइन होला । त्यस्तो कुरा त मलाई सम्झना छैन । मैले त रामबहादुर गन्धर्वलाई चिनेको जस्तो लाग्दैन । अनुहार देखें भनें चिन्थें कि ∕ धेरै पहिलेको कुरा भएकाले र उमेरजन्य कारणले पनि मैले सम्झन सकिनँ ।’ ‘तपाईंले पैसा दिएर झलकमानमार्फत रामबहादुरको गीत लिनुभएको हो त ?’ भन्ने प्रश्नमा पनि प्रमेध्वजले ‘यसै हो भनेर सम्झन नसकेको’ जवाफ दिएका छन् (पंक्तिकारले प्रेमध्वज प्रधानसँग २०७६ चैत ५ गते गरेको टेलिफोन कुराकानी) ।
प्रेमध्वजले झलकमान गन्धर्वबाट गीत लिएको भने पनि रेडियो नेपालको रेकर्डमा संकलकको नाम खाली रहनु र परिवारको फरक खालको दाबी हुनुले संशय पैदा गर्छ । प्रेमध्वजले ०४० मा रेकर्ड गराएको गीतलाई पछिल्लो समय विधान श्रेष्ठले रिमेक गरेर गाउनुका साथै भिडियो समेत बनाएको देखिन्छ । विधानले भने उक्त गीतको संकलकका रूपमा झलकमान गन्धर्वको नाम राखेको देखिन्छ । लोकगीतको रचना हुँदैन । यसको रचनाकार पनि हुँदैन । यो लोकको गीत हो र यसका हकाधिकारी पनि लोक हो । लोकगीत प्रेमध्वजले गाउन नपाउने भन्ने पनि हुँदैन, न विधानले नै । तर, जब गायक या संकलकमा प्रेमध्वज या विधानको या अरू कसैको नाम हुन्छ र त्यसरी दर्ता गराइन्छ भने रामबहादुरको नाम छुटाउने सन्दर्भ पनि न्यायोचित हुन सक्दैन, परिवारको दाबी सत्य हो भने । तर, यसको निर्क्योल कसले गरिदिने ? रेडियो नेपालमा रामबहादुरको नाममा उक्त गीत दर्ता छैन । जसको नाममा दर्ता छ गायकको रूपमा, संकलकको नाम खाली छ । पछिबाट रिमेक गर्नेले झलकमानको नाम राखिदिएको छ ।

अदालतमा सारंगीको बहस
खेतीपातीको बेलामा खेती गर्नु र बाँकी समयमा गाउँगाउँ डुलेर सारंगी रेट्दे गीत गाउँदै हिँड्नु रामबहादुरको जीवन पद्धति थियो । त्यही क्रममा उनीहरूको जग्गालाई लिएर रैथाने पञ्च नेता ढुण्डुराज कँडेलले जिल्ला अदालतमा मुद्दा हाले । रामबहादुरले तिरो तिरिराखेको जग्गा हाम्रो गाईवस्तु चराउने सार्वजनिक जग्गा हो भनेर कँडेलले मुद्दा हालेका थिए । त्यहाँ बनेको घर पनि भत्काइदिएका थिए ।
२०३५ सालदेखि सुरु भएको मुद्दा २०४२ सम्म चल्यो । जिल्लाबाट सुरु भएको मुद्दा पुनरावेदनसम्म पुग्यो । त्यही मुद्दाको क्रममा रामबहादुर सुनुवाइको दिनमा जिल्ला अदालत गोरखामा उपस्थित भए । न्यायाधीश रामनाथ मिश्रले उनलाई आफ्नो कुरा राख्न भनेपछि झोलाबाट सारंगी झिकेर रामबहादुरले भने, ‘हजुर म गाइने, आफ्नै तरिकामा दुःख, दर्द कहन पाऊँ !

न्यायाधीशले उनलाई अनुमति दिएपछि सारंगी रेटेर अलापे–
‘पालुङ्टारको म रामे दुखिया
दुःख दिने ढुण्डुराज मुखिया ...।’

रामबहादुरको त्यो बहस सम्भवतः नेपालको न्यायिक इजलासको इतिहासमा पहिलो र अन्तिम घटना थियो, जहाँ एउटा गाइनेले सारंगी बजाउँदै गीतमार्फत आफ्नो बहस गरेको थियो । एउटा ग्रामीण अनपढ गाइनेले आफ्नो सारंगीलाई वकिल बनाएर अदालतमा उभ्याएको थियो । आफ्नो पुर्ख्यौली गायन शिल्पलाई आफैंमाथि आइपरेको विपत्का विरुद्ध बहस गर्ने सामर्थ्यवान साधनका रूपमा कठघरामा उभिएर लय भरेको थियो । त्यसरी जब जिल्ला अदालतको इजलासमा रामबहादुरले सारंगी लिएर बहस गरे, गीतमार्फत आफ्ना प्रमाणहरू पेस गरे, रामबहादुरले मुद्दा जिते । कँडेल त्यत्तिमै रोकिएनन् । पुनरावेदन गए । पुनरावेदनले रामबहादुरलाई हराइदियो ।
गाउँदै, अलिअलि भएको जमिनमा खेतीपाती गर्दै परिवारको गुजारा चलाउनुपर्ने रामबहादुर अदालतदेखि अदालतसम्मको चक्करले आजित भए । भएको जमिन पनि हरिएपछि उनी सुकुम्बासीमा परिणत हुन लागे । त्यहीबखत राजा वीरेन्द्र पोखरा भ्रमणमा आउन लागेको थाहा पाएपछि (त्यसरी थाहा दिएर राजासँग बिन्ती बिसाउन सल्लाह दिने उनका हितचिन्तक थिए जिल्ला पञ्चायतका नेता जगतबहादुर रोका) उनी सारंगी बोकेर पोखरा हान्निए । त्यसबखत राजा जनताका दुःखसुख त्यस्ता सवारीमा सुन्ने गर्थे । पञ्चहरू लाममा बसेका थिए, राजाको दर्शनभेटका लागि । रामबहादुर रेडियो नेपालबाट चिनिइसकेका गायक थिए । तिनै पञ्चहरूलाई उनले सारंगी बजाएर आफ्नो दुःख सुनाए । तिनैमध्ये कसैले राजाकहाँ गुनासो सुनाउने मेसो मिलाइदिए रामबहादुरलाई ।
राजा वीरेन्द्रका अगाडि आधा घण्टा बढी सारंगी रेट्दै आफ्नो दुःख सुनाएपछि वीरेन्द्रले सँगै रहेका आफ्ना सचिव रञ्जनराज खनाललाई यसअघि जेसुकै फैसला भएको भए पनि सात दिनभित्र रामबहादुर गन्धर्वको नाममा जग्गाको अन्तिम हक कायम हुने व्यवस्था मिलाउन आदेश दिए ।
रञ्जनले नापीका विष्णु खनाललाई खटाए । विष्णुले जिल्ला मालपोतबाट अमृत खनाल, होम ब. भुजेल र कल्याण ब. अधिकारीसमेत लगेर जग्गा कित्ताकाट गरेर हुकुम प्रमांगीअनुसार रामबहादुरकै हुन गएको जानकारी र पुर्जा दिए । त्यसरी रामबहादुरले आफ्नो पुर्ख्यौली सारंगीवादन र गायनको बलमा आफ्नो जमिन जोगाउन सके । रैथाने टाठाबाठाको जालझेल र मुद्दामामिलालाई किनारा लगाउन सके (रामबहादुरकी पत्नी नमकुमारी गान्धारी, छोराहरू डम्बर, कर्णबहादुर, नरबहादुरसँग पटकपटक गरिएको कुराकानीमा आधारित) ।

दसैं विशेष

चोक कुरिबसेकी आइमाई

- शकुन्तला जोशी

यसअघिका दिनजस्तै
यो साँझ पनि कोही सोध्न आउने छैनन्
प्रेमीलाई पर्खिरहेकी तरुनी ठिटी जसरी
चोकलाई कुरिबसेकी म
किन चढिनँ कुनै गन्तव्यतिर हुइँकिइरहेको साझा बस ?
कोही सोध्न आउने छैन ।

हतारमा छ सडक
हतारमा छन् मानिस
चिप्लेकिरा जति पनि हिँड्दैनन् गाडीका टायरहरू
ऐठनजस्तो छटपटीमा सडकभरि थुकिरहन्छ भीड
प्यान्थरको बेवारिस प्याकेट फालिएको फोहोरको डुंगुरमा
खेलिरहेकी छ लाटी आइमाईकी छोरी
भोको पेटलाई आमाचकारी गाली गरिरहेछन्
डेन्ड्राइट्सको नशाले लठ्ठिएका सडक बालकहरू
घरीघरी मतिर हात थाप्छन्
रैथाने ज्यापू बस्तीतिर आज कुनै भोज नभएको हुनुपर्छ
कसैले बाटोमा राखेन सिकी बोः दे बोः
म सिर्फ माफीका आँखाहरूले हेर्छु उनीहरूतिर
कोही हेर्दैनन् हामीलाई
हतारमा छ सडक
हतारमा छन् घर भएका मानिसहरू ।
मेरै छेउ भएर बगिरहेछ मानिसका ताँती
तर, कसैले सोध्ने छैनन्
– किन कोही लिन आएन मलाई रात खसिसक्दा पनि ?
– किन बूढो कुकुरसँगै बाटोमै अल्मलिइरहेछु म ?
– किन घर जाँदैनन् ती बालकहरू ?
कसैले सोध्ने छैनन्
हतारमा छ सडक
हतारमा छन् अग्ला पर्खालभित्र बस्ने मान्छेहरू ।

यही बाटो हुँदै सवारी हुन्छ प्रधानमन्त्रीको गाडी
यहीँबाट दायाँ मोडिएको हो
मेसिनगन ओभरलोडेड ट्यांकर
यतै फालेर गएका हुन्
संयुक्त राष्ट्र संघले शान्ति मिसनको पर्चा
राष्ट्रिय झन्डा फहराउँदै
प्रधानन्यायाधीश हिँड्ने बाटो यही हो
यतैबाट निस्केको थियो राजतन्त्रविरोधी जुलुस
यही चोकमा हुन्छ गणतन्त्रविरुद्ध नाराबाजी
शिरमा कालोपट्टी बाँधेका जवानहरूले
यहीँ उभिएर मार्चपास गरेका हुन्
दिनभरि यहीँ गस्ती गरेर फर्केका हुन् सुरक्षाकर्मीहरू
शंकाको गोलगप्पा आँखा बोकेका सज्जनहरू
हतार–हतार नाघ्दै छन् चोक
हातमा नानी डोहोर्‍याएका आमाहरू
दौडिरहेछन् असुरक्षाको गन्ध सुँघ्दै
यी सब दृश्यहरूको चस्मदिद गवाह म
यही असुरक्षित चोकमा
कुकुरसँग गुडुल्किएर रुँघिरहेछु रातलाई ।


सखारै निद्रा बिथोल्छ मन्दिरको घण्टा
रोगी सहरलाई बोकेर साइरन बजाउँदै दगुर्छ एम्बुलेन्स
हतारिँदै पीपलमा पानी चढाउँछन्
रातभर लोग्नेको कुटाइ खाएका महिलाहरू
काकाकुल सहरलाई पानी बेच्दै दौडिन्छ
शुद्ध पानी बोकेको ट्याङ्कर
बुट बजार्दै निस्कन्छन् परेडमा सिपाहीहरू
खर्पनभरि तरकारी बोकेर निस्कन्छ बूढो ज्यापू
हाई काढिरहेका विद्यार्थी कोचेर
दौडिन्छ स्कुल बस
सरकारी अर्दली
असिनपसिन हुँदै नगरबस पर्खिरहेछन्
चलिरहेकै छ सफाइ मजदुरको हड्ताल
उही समय युट्युब लाइभमा मस्त छन् नगरप्रमुख

जुगजुगानु चलिआएको थितिलाई मिचेर
कुन देशद्रोहीले झोस्यो संसद्भवनमा आगो ?
हुरहुरी सल्किरहेछ लालमोहर लागेका विधेयकहरू
मयलले कट्कटिएको मेरो छालाभन्दा कालो धूवाँ फाल्दै
यहीँबाट घिस्रिन्छ जुद्ध बारुण
लखेटिँदै लखेटिँदै सहरका अनेक चोक र गल्लीबाट
सभ्य र भव्य मन्दिरका आँगनबाट
यो चोकमा आइपुगेको म र बूढो कुकुर
जीवनलाई विस्तारै निलिरहेका नशाग्रस्त बालकहरू
लाटी र त्यसकी छोरी
हो, हामी तपाईंको लालमोहन ठोकिएको
संविधान उल्लंघन गरिरहेका छौं यतिबेला
यो आदिम नगरमा हामी आफ्नो हराएको अनुहार खोजिरहेका छौं
सरकार ∕
के तपाईंको संसद्भवनभित्र थुनिएका छन् हाम्रो अनुहार ?

कोही जवाफ दिने छैनन्
आज पनि हतारोमा छ सडक
हतारोमा छ सदन
हतारमा छन् अग्ला पर्खालभित्र बस्ने मानिसहरू ।

Page 11
दसैं विशेष

सरकार आयो

- आन्विका गिरी

ठगुनी पासवानको गुनासो थियो कि सरकार उनको आँगनमा आएन । पञ्चायत ढलेको थाहा थियो । गणतन्त्र आएको थाहा थियो तर सरकार उनको आँगन टेकेको थाहा थिएन । जनताका लागि भनेर लडेका थुप्रै मान्छे सरकारमा गए । सरकारमा जानुअघि उनीहरूले वाचा गरेका थिए कि अबचाहिँ उनीहरूको जिन्दगी अवश्य बदलिनेछ किनकि सरकार उनीहरूको आँगनमा आउनेछ । ठगुनी रिसाएर भन्थिन्, ‘साले ठगहरू !हामीजस्तो गरिबको आङ्नामा सरकार आउँदैन । आउने भए, आइसक्थ्यो ।’ उनले यो यसै भनेकी थिइन् । उनलाई पहिले त सरकार आउने कुरामा विश्वास थियो । एकएक गर्दै उनको विश्वास भत्किएपछि उनले रिसाएर सरकार आउने आस मारेकी थिइन् । तर, ठगुनीलाई चक्मा दिँदै सरकार उनको आँगनमा आएको थियो । फरक यत्ति थियो कि पहिले अनेकौं बिन्ती लिएर उनी सरकारसम्म पुग्दा पनि सरकार आएको थिएन । यसपटक भने उनले नबोलाईकन आएको थियो । तपाईंलाई लाग्ला, त्यसरी नबोलाईकन सरकार आउँदा त ठगुनीको खुसीको सीमा नहुनुपर्ने ! तर, जसरी ठगुनीको आँगनमा सरकार आयो, ठगुनीले चित् खाइन् ।
ठगुनीको घर सुकुम्बासी बस्तीमा छ । ६ छोराछोरीकी आमा ठगुनीको नाम मैले यहाँ कथा लेख्दा, पूरा नहुने सरकारी स्किमका बेला र मतदाता नामावलीमा मात्र प्रयोग भएको हो । ए, अनि सरकार आउँदा पनि उसले ठगुनी पासवानको पूरा नाम लिएको थियो । लोग्ने मरिसक्यो । तीन छोरीको बिहे भैसक्यो । दुई छोरामध्ये जेठो सुकुम्बासी बस्तीमै अर्को छाप्रो बनाएर छुट्टिएको छ । कान्छो छोरा र एक छोरीसहित ससुरा पनि ठगुनीकै जिम्मेवारीमा छन् ।
पञ्चायत ढाल्न भएको आन्दोलनताका ठगुनीको भर्खर–भर्खर बिहे भएको थियो । यो नयाँ–नयाँ बिहेको नयाँ–नयाँ प्रेमले एउटा फाइदा गर्‍यो । उनको बूढो रुदुवाले नयाँ दुलहीसँग संवाद बढाउन पनि दिनभर भएको आन्दोलन, गाउँको चोकमा भइरहेका चर्चाका कुरा सुनायो । ऊ एउटा गाउँ तहको कम्युनिस्ट नेताको सम्पर्कमा आएको थियो । त्यसपछिको माओवादी आन्दोलनले त उसलाई निकै उद्वेलित बनाएको थियो । उसले थोरै थोरै ठगुनीलाई पनि उद्वेलित बनाएको थियो । छुवाछुत सकिनुपर्छ भनेर संगठित भएको थियो । संयोगले सेना प्रहरीबाट बचेको उसको ज्यान पहिलो संविधानसभाको निर्वाचनको सालको वर्षामा चिप्लिएको थियो । टाउको ढुंगामा बजारियो र ऊ उठ्नै सकेन । त्यो बाटो बनाउने भनेर बहुदलपछिका धेरै सरकारले भनेका थिए । नेताहरूका भनाइ केवल चुनावी नारा हुन् भनेर न रुदुवाले बुझ्यो, न ठगनुीले ∕ तर, रुदुवाले सरकारले हाम्रा लागि केही गर्छ भन्ने ‘चेतना’ ठगुनीको मनमा राखिदियो । त्यही चेतना बोकेर ठगुनी आफ्ना समस्या बोकेर गाउँदेखि जिल्ला तहका सरकारकहाँ पुगिराख्थिन् ।
ठगुनीका धेरै समस्या थिए । एक आम गरिबका समस्याको चाङ यो देशमा सगरमाथाको उचाइभन्दा कम हुँदैन । बरु बढी नै होला । रुदुवाको नागरिकता थिएन । उसको बाउआमाको पनि थिएन । ठगुनीको पनि थिएन । रुदुवा आफ्नो नागरिकताका लागि सरकारको अड्डामा धाइरहेको थियो । उसको मृत्युपछि ठगुनी धाउन थालिन् किनकि जेठो छोरा, जो अहिले ऊसँग छुट्टिएको छ, अरब जान चाहन्थ्यो । राहदानीका लागि नागरिकता चाहिन्थ्यो । त्यसैले उनी पहुँचले भ्याउने ठूलो सानो सबै सरकारकहाँ धाइरहन्थिन् ।
त्यो बेला देश संघीयतामा गएको थिएन । संघीयताको गफ गरेर झारो टार्ने मेसोमा थियो । मधेस आन्दोलन जागेको थिएन । छोराको नागरिकताका लागि उनी पुरानो गाविस अध्यक्षकोमा पुगिन् । छोरा पनि साथमा लिएर गएकी थिइन् । अध्यक्ष सर्वदलीय संयत्रको हर्ताकर्ता थियो । अध्यक्षको ओसरामा खाली मुढा देखेर पनि उनी बस्न सकिनन् । आङ्नामा टुक्रुक्क बसेर उनले हात जोरेर छोराको नागरिकता बनाइदिन अनुरोध गरिन् । उनको नागरिकता नबनी छोराको बन्दैनथ्यो । रुदुवाको नबनी उनको नागरिकता हुँदैनथ्यो । रुदुवाको बाउको नागरिकता नभई रुदुवाको नागरिकता हुँदैनथ्यो । रुदुवा जिउँदो थिएन, उसको बाउ त जिउँदै थियो तर ससुराका बाउ जिउँदो थिएनन् । ससुराको बाउको नागरिकता नभई ससुराको नागरिकता बन्नेवाला थिएन । यो बाउहरूको जञ्जालमा आमाको त ठाउँ थिएन तर पनि उनले गुहार लगाइन् ।
गाविस अध्यक्षले ‘सक्दिन’ भन्यो । उनले आँसु निकालिन् । गोडा छुन दिन्थ्यो भने अध्यक्षको उनले गोडामै ढोग्थिन् । भुइँलाई नै गोडा मानेर ढोग्दा पनि अध्यक्षले ‘अहिले केही गर्न सक्दिन । नयाँ संविधान आयो भने केही होला !’ भन्दियो । ठगुनीले त छोरालाई नयाँ संविधानसम्म कुर्न भनेकी हुन् । छोराले कुर्न सकेन । आफ्ना आमाबाउले के–के कुरा कहिलेदेखि कुरेको उसलाई थाहा थियो ।
घर फर्केपछि छोराले खुब झगडा गर्‍यो । ‘कस्ताको घरमा जन्म लिएँ मैले ! छोराको गुनासो त्यही थियो । ऊ आफ्नी आमासँग, मरिसकेको बाउसँग, जिउँदो हजुरबाउसँग, मरिसकेका हजुरबाउको बाउसँग सबसँग रिसायो । धुनधान गाली गर्‍यो । अनि छुट्टै बस्न थाल्यो ।
माओवादी आन्दोलनको रजगज सुरु भइसकेको थिएन । रुदुवा जिउँदै हुँदाको कुरा हो । रुदुवाले पाँच दिन परमवीर साहको खेत जोतेको ज्याला पाएन । दिनदिनै धाउँदा पनि परमवीर पैसा दिने कुरा गर्दैन । आखिरमा पाँच दिनको पचास रुपियाँ रुदुवाको मुखमा फ्यालिदियो । हुनुपर्ने दुई सय पचास थियो । रुदुवा गाविस भवन पुग्यो र सरकारसँग बिन्ती गर्‍यो । सरकारले सुनुवाइ गरेन । गाउँठाउँमा मिल्नुपर्ने उपदेश दियो । ‘तपाईंले हाम्रो दिन बदलिन्छ भन्नुभएको थियो । यही हो बदलाव ?’ रुदुवाले प्याट्ट प्रश्न गरेको थियो ।
‘तँलाई लात्ती घुस्सा खानु परेन । पचास भए पनि पाइस् ।’ तत्कालीन गाविस अध्यक्षले ‘न्यायिक’ निर्णय सुनायो । त्यसपछि रुदुवा ‘हाम्रो सरकार आएपछि सबथोक ठीक हुन्छ’ भन्ने आन्दोलनमा मिसियो । त्यो आन्दोलन जित–हारको विवाद कायम राख्दै मूलधारमा आयो । उसको सरकार बनिनसक्दै रुदुवा गयो । ठगुनीलाई भने नयाँ सरकारको आस देखाएर गयो ।
आफ्नी कान्छी छोरी रमुनालाई गाउँकै केही केटाहरूले हूलहुज्जत गर्ने प्रयास गरेपछि ठगुनी फेरि सरकार गुहार्न पुगिन् । यो हूलहुज्जतमा गाउँका गन्नेमान्नेका छोराहरू, भाइहरू थिए । आफैं गएर हप्काउन धकाइन् । त्यसैले छोरीको हात समाएर उनी पुलिस चौकी पुगिन् । ठगुनीले प्रहरीलाई गरेको अनुरोध थियो, ‘गाउँमा आएर छोरीलाई दुःख दिने बदमासहरूलाई चेतावनी देओस् । नमाने लगेर थुनोस् ।’ उजुरी शाखाको जवानले ध्यान दिएर कुरा सुन्दै गर्दा असइ पनि आएको थियो । उसले पनि सुनेजस्तै गरेको थियो । ठगुनी निश्चिन्त भएर गाउँ आइन् तर कैयौं दिन बित्दा पनि प्रहरी आएन । दुई–तीन खेप धाउँदा पनि आएन । उल्टै गाउँको कुरा प्रहरीकोमा लिएर पुगेको भनेर उनी सबैकी आँखी भइन् । एक साँझ त घाँस लिएर आउँदै गरेकी आफ्नी छोरी बाटामा बदमासहरूले घेरिएको सुनिन् । एउटाले हातमा रमुनाको आधाउधी दुलो परेको कालो सल पक्डेको थियो । छातीमा हात राखेर रमुना आँसुआँसु भएर भुइँमा थचक्क बसेकी थिई । उसको घाँसको बोरामा एउटा बदमास बसेको थियो ।
ठगुनीलाई यो खबर छिमेकी रत्नाले दिएकी थिई । अनि हाँपझाँप गर्दै ठगुनी छोरी भए ठाउँमा पुगेकी थिइन् । बोरामा बसेको केटोलाई धकेलेर बोराको मुखमा घाँसमा घोचेको कचिया निकालेर थर्काइन्, ‘कसलाई काल आ’को छ ? आवो ∕ यही कचियाले घाँटी छिनालिदिइन भने म मान्छे होइन ।’
अचानक रमुनाकी आमा त्यस्तरी आउली भनेर केटाहरूले सोचेकै थिएनन् । एक महिला, त्यसमाथि लोग्ने मरेको, गरिब र अझ दलित महिलाले आफूहरूलाई त्यसरी चुनौती देलि भन्ने भन्ने केटाहरूले सोचेका थिएनन् । तर, ठगुनीको आँखाको रिस भने उनीहरूले राम्रैसँग बुझ्न सके । अनि पछाडि हटे । भोलिपल्ट ठगुनीले परविन्दर यादवको गुम्तीअगाडि त्यही कचिया लिएर हुँकार गरिन्, ‘अब आइन्दा कसैले मेरी छोरीतिर आँखा उठाएर हेर्‍यो भने पनि म त्यसलाई टुक्राटुक्रा पार्छु । अनि म जेल जान्छु ।’
मान्छे मारेको आरोपमा त होइन, तर धम्क्याएको आरोपमा ठगुनी हिरासतमा पुगिन् । त्यत्रो धाउँदासमेत नआएको पुलिस यो घटनापछि भने एकै छिनमा आयो । गाउँलेलाई धम्क्याएको आरोपमा ठगुनीलाई भ्यानमा जाक्यो । दुई दिन हिरासतमा बसेर एक मानवअधिकारवादी जमानी बसिदिएपछि उनी छुटिन् । हिरासतबाट छुटेर आएपछि ठगुनीले भनेकी थिइन्, ‘सरकारकोमा बसेर आएँ ।’
यसरी सरकार उनको नआए पनि उनी सरकारकोमा पुगेकी थिइन् । यो गाउँ–गाउँमा छोटे सरकार आउनुअघिको कुरा थियो ।
‘गाउँगाउँमा सिंहदरबार’ नारा सुनेर ठगुनीका कान ठाडा भएका थिए । अब जे हुन्छ, गाउँमै बनेको सरकारले गर्छ भन्ने चर्चामा उनी आकर्षित भइन् । यो आकर्षणको मूल कारण अँधियामा खेती कमाउन थाल्नु थियो । जनबनी गरेर आजित भएकी उनले छोराछोरीको सहारामा आठ कठ्ठा खेत अँधियामा लिइन् । गाउँकै भट्टराई बाजेको परिवार नै काठमाडौं सर्दा उनलाई खेत कमाउन दिएको थियो । गाउँका भएभरका काम गर्न सक्ने जमात बिदेसिएपछि अँधिया गर्ने मान्छे पाउन पनि मुस्किल थियो । यस्तो बेलामा खेत त पाइन्थ्यो टन्नै तर गर्न सक्ने मात्र ठगुनीले आँटेकी थिइन् । गाउँमै सरकार आएपछि मल, बीउ, जोत्न ट्याक्टरको समस्या नहोला भन्ने उसलाई लागेको थियो ।
किसानलाई सरकारले ट्याक्टर दिन्छ भन्ने ठगुनीको कानमा पर्‍यो । सरकारले अहिलेसम्म त उनलाई केही दिएको थिएन । बूढाले मर्दामर्दै पनि केही दिन्छ त भनेको थियो । अब पाइने भयो भनेर ठगुनीका चाउरिन थालेका आँखाका दुवै कुनामा पनि देखिने गरी आशा सञ्चारित भयो । उनी तुरुन्तै नयाँ सरकारकोमा पुगिन्, जुन अब गाउँपालिकाको अध्यक्ष थियो । जोत्नकै लागि उपयोगी हुने भनेर जिल्ला कृषि कार्यालयले पालिकासँग संयोजन गरेर आवश्यक किसानलाई ट्याक्टर दिने भएको थियो । उनको आफ्ना गोरु थिएन । नगद तिरेर अरूको ट्याक्टरबाट खेत जोताउन उनलाई महँगो परिरहेको थियो । आफैँ एक हल गोरु पालौं भन्दा पनि गुहाली बनाउने जमिन खै ?
ठगुनीजस्तै अरू पनि आफ्नो नाम टिपाउन पुगेका थिए । नाम टिपाएर आउँदा फागुनको महिना थियो । वैशाखसम्म त ट्याक्टर चाहिन्थ्यो । ठगुनीले वैशाख १५ सम्म कुरिन् । तर, पनि ट्याक्टर नआएपछि उनी वडा कार्यालयमा धाउन थालिन् । गाउँपालिकाले वडासँग सम्पर्क गर्नु भनेको थियो । अनेक काम छोडेर भए पनि दुई–तीन दिन दुई–तीन दिनमा उनी वडा कार्यालय पुग्थिन् ।
एक दिन परैबाट वडाअध्यक्षले उनलाई ‘आएको छैन, आयो भने ठूलो आवाज हुन्छ । सबैले थाहा पाउँछन् । आइरहनु पर्दैन’ भनेर करायो । वडाअध्यक्षको आवाजमा चर्कोपन भए पनि ठगुनीलाई कुरा ठीकै लाग्यो । आएपछि आवाज आउँछ । वडाअध्यक्षले कराएपछि कारिन्दाले पनि करायो, ‘फोन आउँछ । जति भने पनि टेर्दिन ।’ यो कुरा पनि उनलाई ठीकै लाग्यो । उनको आफ्नो त फोन थिएन । कान्छो छोरा पौवाको थियो । उसैको नम्बर दिएकी थिइन् । हुन त पौवाको फोन पनि उसको साथीको नामबाट लिएको थियो, जसको नागरिकता थियो । उनको घर वडा कार्यालयबाट २० मिनेटको पैदलमा थियो । फोन आउनेबित्तिकै उनी दौडँदै आउन सक्थिन् ।
त्यसको भोलिपल्टै पौवा दौडँदै घर आयो, ‘आमा ट्याक्टर आयो !
ठगुनीले खुसीको सीमा रहेन, आखिरमा ट्याक्टर आयो । पौवाले भनेको पनि ठीकै थियो । ट्याक्टर आएको थियो तर ठगुनीको नाममा ट्याक्टर आएको थिएन । ट्याक्टर पाउने पहिलो सूचीमा वडाअध्यक्षको भाइ, भाइको ससुरा, अरु वडासदस्यहरूको काका, दाजु, साला, प्रतिपक्षी दलको नेताको भिनाजु थिए । उनीहरू धेरै खेत भएका किसान थिए । ठगुनी, मझुवा, गणेशपुरिया, सरुनी खिस्स परे ।
‘तिमेरुको खेत थोरै छ । पहिला खेत धेरै हुनेले पालो पाए’ वडाअध्यक्षले ठगुनीको टोलीलाई धपाए ।
धपाउँदाधपाउँदै आशा देखाए, ‘तिमीहरूले अर्को वर्ष पाउँछौ ।’
ट्याक्टरमा मात्र होइन, अघिल्लो साल बाढीले घर डुबाउँदा दिने राहत पनि सरकारको तर्फबाट उधारै थियो । तर, यसैबीच जेठको अन्तिमतिर मध्यदिनमा ठगुनीको घरमा सरकार आयो । चरक्क घाम यसरी चर्किएको थियो कि आकाशमा दसवटा सूर्य फनफनी नाचेको जस्तो लाग्थ्यो । खेतमा काम गर्न नसकेर ठगुनी घर आएकी थिइन् । बकैनाको बोटमुनि छाया परेको ठाउँमा खटिया थियो, त्यसैमा ढल्केकी थिइन् । खटियाकै एक छेउमा एउटा पोथी र भाले कुखुरा माटो कोतरेर खाल्डो बनाई बसेको थिए । घरीघरी पकपक गर्थे नभए वातावरणमा अर्को कुनै स्वर थिएन ।
सडकबाट मोटरसाइकल र सिटी सफारी आक्कल झुक्कल पास भइरहेका थिए । तर, त्यसले ठगुनीको निद्रा बिथोलेको थिएन । एउटा बाइकको निरन्तरको हर्नले भने ठगुनी रन्थनिँदै उठिन् ।
‘को मर्‍यो र यस्तरी हरन बजाउँछौ ?’ ठगनुी खटियाबाट फत्फताउँदै उठिन् ।
आङ्नामा सेतो सर्ट र नीलो पाइन्ट लगाएका दुई जना मान्छे बाइकबाट झर्दै थिए । वडा कार्यालयमा दुईमध्येको एउटालाई उनले देखेकी थिइन् । ठगुनी शान्त भइन् । नमस्कार गरिन् । उनीहरूले मुख खोल्नुअघि ठगुनीले फटाफट सोधिहालिन्, ‘ट्याक्टर आयो ? मल आयो ? राहत आयो ?’
दुवैले मुस्कुराउँदै मुखामुख गरे र भने, ‘हामी अर्कै कामका लागि आएको ।’
ठगुनीलाई लाग्यो– वर्षौंदेखिको नागरिकताको फिराद पो सुनुवाइ भयो कि क्या हो । उनले आँखा चम्काएर सोधिन्, ‘मेरो नागरिकता बन्यो ?’
उनको यो प्रश्नले टाउकोमा चस्मा लगाएको कर्मचारीचाहिँ चिढिएजस्तो भयो । उसले निधार खुम्च्यायो र चस्मा खोलेर सोध्यो, ‘गाई कतिवटा छ ? बाख्रा कति छन् ? तरकारी कतिको बेच्छौ ?’
आफूले नागरिकताको कुरा सोध्दा यी मान्छेहरू आफूलाई के सोध्छन् भन्ने नलागेको होइन् तर सोधेको कुरा भन्नुपर्छ भनेर ठगुनीले भनिन्, ‘बाख्रा थियो । दुई हफ्ताअगाडि के खायो, के खायो दुईवटा बोकासहित मर्‍यो ।
बाख्राको डाक्टरको बाटो हेर्दाहेर्दै बाख्रा मर्‍यो । गाई त छैन । तरकारी बेच्नलाई बारी खै सर ?’
ठगुनी बोल्दै गर्दा चस्मा नलाउने कर्मचारीका आँखा भने मोटरसाइकलको हर्नको हल्लाले डिस्टर्ब भएर यताउता गर्दै गरेको भाले र पोथीमा थिए ।
ठगुनीले बोलिसकेपछि कुखुराबाट आँखा हटाएर ठगुनीतिर हेरेर सोध्यो, ‘यी कुखुरा कसका हुन् ?’
‘मेरै हुन्’, ठगुनीले भनिन्, ‘अहिले सानै छन् । बेच्ने बेला भएको छैन । पोथीले अण्डा दिन थालेकै छैन ।’
चस्मा लगाउने कर्मचारी फिस्स हाँस्यो र भन्यो, ‘किन्न सोधेको हैन । गाउँपालिकाले कुखुरामा पनि कर लगाएको छ । गाईवस्तु, बाख्रा सबैमा अब कर लाग्छ । तिम्रा यिनै कुखुरा रैछन् । असार १० गतेसम्म म्याद छ । तिर्न आउनू !
त्यतिन्जेल अर्काले एक भाले र पोथीको विवरण उतार्‍यो ।
ठगुनीले करको कुरा यसअघि सुनेकै थिइनन् । उनले कुरा बुझाइमागिन्, ‘कर तिर्न मलाई केको कर छ ?’
‘कर तिरेपछि सरकारले सुविधा दिन्छ’, एउटा चस्मा नलगाएको कर्मचारीले टाउको कन्याउँदै कुखुरातिरै हेरेर भन्यो ।
‘मैले त अहिलेसम्म केही पाएको छ्रैन’, ठगुनीले सोधिन्, ‘कर तिरे भने पाउँछु ?’
‘पाउनुहुन्छ’, चस्मा लगाउने कर्मचारीले अर्को कर्मचारीतिर हेरेर आँखा झिम्क्यायो । अर्को कर्मचारीले पनि ‘हो हो पाउनुहुन्छ’ भन्यो ।
ठगुनीले भनिन्, ‘पहिलेकै सुविधा उधारो छ !
थप कुरा बुझाउन कुनै कर नभएको जस्तो गरेर मोटरसाइकलमा बस्दै भन्यो, ‘त्यसो भनेर कह्ाँ हुन्छ ? सरकार आफैँ घरमा आएर कर तिर्नु भनेपछि तिर्नुपर्छ । नभए जरिवाना लाग्छ ।’
अनि घुइयँ मोटरसाइकल गएको ठगुनीले हेरिराखिन् । यसरी आफैंले कैयौंपल्ट बोलाउँदा नआएको सरकार उनको आङ्नामा आफैं आएको थियो । ठगुनी खुसी हुनु कि दुःखी हुनुको निर्क्योल गर्न नसकेर अलमलिएकी थिइन् ।
साँझमा छोरी ओसरामा दिउँसो टिपनटापन पारेर ल्याएको लुँडेको साग केलाउन बसेकी थिई । ठगुनीले भनिन्, ‘आज मासु खान मन लागेको छ । भाले र पोथी दुवै काट्नु ।’ 

दसैं विशेष

एउटा दलाल कविको कथा

कविता
- फूलमान वल

कविजी भनिरहन्थे–
‘इमानको मसीले लेख्नुपर्छ कविता
नैतिक हुनुपर्छ अक्षरहरू’

सहरका गोष्ठीहरूमा
कवि सम्मेलनहरूमा
भट्टीहरूमा
कविजी दोहोर्‍याइरन्थे–
‘भुइँमान्छेका आँसु र आक्रोशको आरनमा
डढेको हुनुपर्छ कविता
पसिनाको दूर क्षितिजबाट साँझपख भोकै फर्किरहेका
कर्मठ गौंथलीहरूको गीत गाउनुपर्छ कविताले
जब कविताले सुकिला शब्दहरूको छाता ओढ्न थाल्छ
बिम्ब र प्रतीकबीच दलाली गर्न थाल्छ
तब कविता मर्छ
कविता त, एन्टिकरेन्ट हुनुपर्छ एन्टिकरेन्ट ∕’

लेख्दालेख्दै कविता
कविजीको उमेर ढल्किँदै गयो
सँगैका संगीहरू
–मन्त्री बने
–गुन्डा नाइके बने
–ठेकेदार बने
–लाहुरे बने
–जग्गा दलाल बने
तर कविजी कवि नै रहिरहे
लेखिरहे– यो देशमा म एउटा असल मान्छे खोजिरहेछु ।

अचानक एक दिन,
कविजी हराए
सहरका कवि गोष्ठी, सम्मेलन र भट्टीहरूमा
देखिन छाडे कविजी
अखबारका दसैं अंकबाट पनि
कविजीको नाम गुमनाम बन्यो

महिनौंपछि–
काँठको कुनै भित्री गाउँबाट
कविजीको फोन आयो–
‘निकै सस्तोमा जग्गा पाइन्छ है मित्र ∕
प्लटिङ थालेको छु, कहिले हेर्न आउने ?’

दसैं विशेष

उडान

कविता
- कान्तिपुर संवाददाता

तम्तयार छु
उड्न
उन्मुक्त उडान

सोध्नु छ
बादलसित
गन्तव्यको ठेगाना
पुग्नु छ –
सुदूर प्रदेश
भेट्नु छ
वायुपंखी घोडामा सवार
इन्द्रेणी सपनाहरू
गर्नु छ –
एकै छिन
हुरीसित कानेखुसी

पुग्नु छ
पीडाको इपिसेन्टर
समात्नु छ
बेतोडले भागिरहेको हावा
भेट्नु छ –
एकनासले
दगुरिरहेको खोला
र, लामो यात्रामा
एक्लै हिँडिरहेको
सुनसान बाटो

अन्धकारलाई
अङ्गालो मारेर
मस्त निदाइरहेछ सपना,
फेरि पनि
उदाउने तरखर गरिरहेछ
कहिल्यै बूढो नहुने
नयाँ घाम

खेत खलियानको निधारमा
बगिरहेछ पसिना
मुसुक्क मुस्कुराइरहेछ
धानको बाला
सोध्नु छ –
पानीसँग
खडेरीको हालखबर

विरहको जङ्गलमा
एक्लै
रोइरहेछ लोकगीत,
शोकधुनझैं
किन
बजिरहेछ बाँसुरी
यतिबेला

चुपचाप
खिच्नु छ
आँसुको क्लोज अप,
फेरि पनि
खोज्नु छ
आगोको मुहान

आरन
तताउँदै गर
ओ प्रिय मानिस !
गर्न बाँकी नै छ
अन्तिम प्रहार ।

Page 12
दसैं विशेष

अनुवाद उँभौली

- कान्तिपुर संवाददाता,राजकुमार बानियाँ

दसैँको मुखमा एकसाथ चार अनुवाद कृति पाठकलाई सुम्पियो, प्रकाशक बुकहिलले । ‘सत्ता र सत्य’, ‘युगान्त’, ‘मुसा मानुष’ र ‘विमुक्ति’ ।
अनूदित किताबको लस्कर भने सुविचारित नभएर संयोग मात्र रहेछ । कतिपय लेखकले कोभिडको कारण देखाएर क्यालेन्डरमा रहेका मूलकृति निकाल्न चाहेनन्, प्रकाशकले पनि प्रतिकूल समयको जोखिम उठाएनन् । र, पालो पाए अनुवाद कृतिले ।
मौलिक लेखनमै चम्किएका युवाहरूले उम्दा उल्था गरेर पाठकलाई दसैं उपहार टक्र्याएका छन् । पोखरा बसेर गनेस पौडेलले नोबेल पुरस्कार विजेता जोन स्टेनबेकको सदाकालीन आख्यान ‘अफ् माइस एन्ड मेन’ को अनुवाद ल्याए, ‘मुसा मानुष’ । संसारका सयौं भाषामा अनूदित र करोडौं थान बिक्रीको कीर्तिमानी यो आख्यानमा सन् १९३० को महामन्दीपछिको कृषि मजदुरको कथा छ । यो अमेरिकी स्कुलेको प्रिय पुस्तक हो तर कतिपय ठाउँमा प्रतिबन्धित पनि छ । गनेसले पश्चिमाञ्चल क्षेत्रको बोलीबान्कीमा यसको अनुसिर्जना पस्केका छन् ।
पोखराकै पढाकु युवा समूह ‘ह्वाट द बुक क्लब’ ले उपन्यासबारे बोलिदिन निम्त्याएपछि गनेसमा अनुवादको औडाहा चलेको रहेछ । उनी सिर्जनात्मक लेखन नफुर्दा आफ्नो दिल–मथिंगल चोरेका खुद्रा रचना अनुवाद गरिबस्छन् । ‘मेरा निम्ति अनुवादलाई एउटा सात्त्विक समाजसेवा हो,’ उनी भन्छन्, ‘यसलाई पैसा पनि आउने समाजसेवा भन्दा अझ आनन्द होला ।’
‘भारी–भरकम चीज निरन्तर पढिरहँदा पट्यार लागेपछि मन भुलाउन म कविता पढ्ने गर्छु,’ इतिहासकार नयराज पन्तको यसै उक्तिलाई पछ्याउँछन्, लेखक सुजित मैनाली । एकैखाले किताब पढ्न र एकैखाले सामग्री लेख्न दिक्क लाग्दा केही समय विश्राम लिने क्रममा उनले भारतीय मानवशास्त्री इरावती कर्वेको कालजयी कृति ‘युगान्त’ को अनुवादमा लागेका थिए ।
यो अनूदित कृतिले महाभारतै नपढेका पाठकलाई समेत महाभारतका अन्तरकुन्तरबारे सोलोडोलो जानकारी दिनेछ । ‘हामीकहाँ महाभारतसम्बन्धी एउटा पनि गहकिलो किताब लेखिएको छैन । पुस्तकालयमा पनि महाभारतसम्बन्धी प्रमुख ग्रन्थहरूको संकलन छैन,’ उनी भन्छन्, ‘आफूलाई मन परेको किताब आफ्नै भाषामा उल्था गरी पाठकलाई दिएको हुँ ।’
अनुवाद साहित्यमा युवा हलकारा मात्र होइन, प्रौढ हलकाराको सक्रियता पनि लोभलाग्दो छ । पटकपटक अन्तिम अनुवाद भन्दै आएका ७५ वर्षीय खगेन्द्र संग्रौलाको खातामा नयाँ उल्थाकृति थपिएको छ, ‘सत्ता र सत्य’ । त्यसमा मेरी डेसेनको छनोटमा अल्बर्ट आइन्सटाइन, बर्तोल्ट ब्रेख्त, आन्टोनियो ग्राम्स्की, विलियम मोरिस, विलियम हिल्टन, इडुआर्दो ग्यालियानो, हवार्ड जिन र एडवर्ड डब्लू सइदका ११ दार्शनिक निबन्ध छन् ।
सिर्जनाभन्दा अनुवादले चिनिएका संग्रौलालाई सुपरस्टार अनुवादक भने पनि हुन्छ । उनले विदेशी भाषाका तीन दर्जन कृति अनुवाद गरिसकेका छन् । त्यसो त उनलाई मौलिक चिन्तन र सिर्जना भएको मान्छे अनुवादमा किन अलमलिएको भन्ने हितैषी पनि नभएका होइनन् । ‘मलाई थाहा छ, म जे अनुवाद गर्छॅ, त्यस्तो लेख्न सक्दिनँ,’ उनी भन्छन्, ‘अनुवाद एक हिसाबले आफ्नै अज्ञानता र अभावको क्षतिपूर्ति हो ।’
अंग्रेजीबाट मात्र किन ? नेवारी (नेपाल) भाषाबाट समेत नेपालीमा अनुवाद भयो, मल्ल के सुन्दरको ‘विमुक्ति : बौद्ध विनय र सशस्त्र विद्रोहबीचको संवाद’ । मल्लको सात वर्ष पहिले प्रकाशित उपन्यास ‘व लँपु : थ्व पलाः’ को अनुवाद गरेका हुन्, महेशराज महर्जन र राजेन्द्र महर्जनले । यसले माओवादीको दसवर्षे विद्रोहको मर्मान्त कथा कहेको छ ।
‘बुकहिलसँग अनुवादको लामै सूची छ तर यसपालि सकिएका काम एकैसाथ आए,’ बुकहिलका भूपेन्द्र खड्का भन्छन्, ‘संकटका बेला मूलकृति दिन नसके पनि विश्वसनीय अनुवाद दिन पाएकामा खुसी छौं ।’
त्यसो त यहाँ अंग्रेजीमा लेख्ने विदेशी लेखकहरूको तुलनामा नेपाली लेखकद्वारा अंग्रेजीमा लेखिएका किताब खासै पढिँदैनन् । त्यही तितो यथार्थका कारण चाडबाडको किचाघानमा सगुना शाहले सुन्दर अनुवाद गरेर देखाइन्, ‘कान्छा महारानी’ ।
नारीलाई मुख्यपात्र बनाएर लेखिएको शीवा शाहको ऐतिहासिक आख्यान ‘द अदर क्विन’ को विमोचनमै उनले प्रोलग उल्था गरेर सुनाउँदा धेरै पाठकले नेपालीमा पढ्ने हतार भएको प्रतिक्रिया दिइसकेका थिए । ‘मैले अनुवाद रोजेको भन्दा पनि लेखकबाट प्रस्ताव पाएकी हुँ,’ उनी भन्छिन्, ‘दरबारिया बोलीचालीको भाषा मध्यनजर राखी मलाई प्रस्ताव आएको रहेछ ।’ त्यसअघि उनले फुटकर कथा र कविता अनुवाद गरेकी थिइन् ।
विभिन्न प्रकाशनगृह थुप्रै अनुवाद कृति बजारमा ल्याउने तम्तयारीमा छन् । ‘कान्छा महारानी’ को प्रकाशक सांग्रिला बुक्सले मञ्जुश्री थापाको उपन्यास ‘अल अफ अस इन आवर ओन लाइभ्स’ को अनुवाद गराइसकेको छ । विदेशीले पत्याएकी लेखक मञ्जुश्रीले उज्ज्वल प्रसाईको अनुवाद कलामार्फत नेपालीभाषी पाठक पाउँदै छिन् । ‘अनुवाद मात्र भन्दा पनि राम्रो किताबको बजार जहिल्यै हुन्छ,’ सांग्रिलाका मणि शर्मा विश्वस्त छन्, ‘अनुवाद सिर्जनाभन्दा मुस्किल काम हो, त्यस्ता कृति आए स्वागतै गर्छौं ।’
एकपछि अर्को हिट अनुवाद दिइरहेको प्रकाशक फाइनप्रिन्टले भने किताबी बाढीका कारण मनीषा कोइरालाको आत्मकथा ‘जिजीविषा’ को विमोचन दसैंपछाडि धकेलेको छ । मूलकृति ‘हिल्ड’ लाई पत्रकार स्वरूप आचार्यले उल्था गरेका हुन् । पाउलो कोहेलोको बेस्ट सेलर ‘हिप्पी’ लाई सुरेश बादलले भाषान्तरण गरेका छन् भने दिनेश काफ्लेले नयनराज पाण्डेकृत आख्यान ‘उलार’ र ‘लू’ को अनुवाद टुंगो लगाएका छन् ।
‘अनुवादको अतिरेक इच्छा भएर स्वीकृति लिन नपाउँदा हामी खुम्चिन बाध्य छौं,’ फाइनप्रिन्टका नीरज भारी सुनाउँछन्, ‘सानो देश भनेर हो कि कपीराइट माग्दा विदेशी प्रकाशकहरूले त्यति रेस्पोन्स गर्दैनन् ।’
अर्को प्रकाशक मञ्जरीले आचार्य चतुरसेनको श्रेष्ठ उपन्यास ‘वैशालीकी नगरवधू’ दसैं बोनस दिएको छ । तत्कालीन लिच्छवि संघको राजधानी वैशालीकी पुरावधू आम्रपालीको चरित्रचित्रण गरिएको यस ऐतिहासिक आख्यानलाई चतुरसेनले आफ्नो एक मात्र रचना बताएका थिए ।
इन्डिगो इन्कले मारिया मन्टेसरीको ‘सेक्रेट अफ चाइल्डहुड’ सागर चन्दको अनुवादमा ‘बाल्यकालका संघर्ष’ ल्याउँदै छ । यसैगरी सिल्भिया एन्टन वर्नरको प्रसिद्ध पुस्तक ‘द टिचर’ लाई वन्दना ढकालले ‘शिक्षक’ तयार गरेकी छन् ।
बुक हिलले अबको पालोमा योङे मिङ्ग्युर रिन्पोछे र एरिक स्वानसनको पुस्तक ‘द जोय अफ लिभिङ’ को सरोज धितालकृत अनुवाद ‘जिउनुको मज्जा’ र काफ्काकृत ‘मेटामफोर्सिस’ को रामचन्द्र केसी अनूदित ‘कायान्तरण’ लाई राखेको छ ।
साँच्चै भन्ने हो भने नेपालमा व्यवस्थित अनुवाद परम्परा सय वर्ष लामो पनि छैन । भानुभक्त आचार्यले बाल्मीकिकृत संस्कृत महाकाव्य ‘रामायण’ को भावानुवाद गरी यसको जग बसाए पनि संस्थागत प्रयास भने विसं १९९७ मा मात्र हुन सक्यो । विश्व साहित्य आदानप्रदानका लागि ‘भाषानुवाद परिषद्’ बन्नुअघि पुष्करशमशेरले दुई खण्डमा ‘अंग्रेजी नेपाली कोष’ छापेका थिए ।
यहाँनेर सम्झनुपर्ने हुन्छ, भाषानुवाद परिषद्कै जागिरे महाकवि लक्ष्मीप्रसाद देवकोटालाई । उनले ‘इन्द्रेणी’ पत्रिकामा थुप्रै नेपाली कविका कविता अनुवाद गरी छापेनन् मात्र, पूर्वीय र पाश्चात्य साहित्यका ‘शाकुन्तल’ देखि ‘प्रमिथस’ सम्मको अनुवाद र अनुकूलन गरेर नेपाली साहित्यमा भण्डारण गरिदिए ।
अनुवादको पहिलो विद्यावारिधि समालोचक गोविन्दराज भट्टराईका अनुसार, नेपाली साहित्यले रूपरङ नै नपाएका बेला भाषानुवाद परिषद्बाट विश्वसाहित्यका २४ क्लासिक किताब अनुवादको परियोजना ल्याइएको थियो । देवकोटाले तासकन्द कार्यपत्रमा समेत नेपाली साहित्य पछि पर्नुको मुख्य कारण अनुवाद नहुनु औंल्याएका थिए ।
समयक्रममा ऋद्धिबहादुर मल्ल, खड्गमान सिंह, शान्तदास मानन्धर, टीकाराम पन्थी आदिले स्वान्त सुखायः कै लागि भए पनि मौलिक स्वाद र सौन्दर्य कायमै राखेर भाषानुवाद, छायानुवाद र शब्दानुवादको सीप देखाए ।
निश्चित भूगोलमा खुम्चिएको साहित्यले अनुवादकै कारण सर्वव्यापी हुन पाउँछ । यसले भाषा र समय मात्र नभएर इतिहास र संस्कृतिलाई पनि जोड्छ । कुनै लेखकले भनेका छन्, ‘अनुवादबिना म आफ्नै देशको सीमाभित्र हुन्छु, अनुवादकले नै मलाई संसार चिनाउँछ ।’
जापानका हारुकी मुराकामी हुन् कि ब्राजिलका पाउलो कोहेलो, कोरियाका हाङ काङ हुन् कि रुसका तोल्सतोय अनुवादमै चम्किएका हुन् । नोबेल पुरस्कार पाउने झन्डै ८० प्रतिशत लेखक अनुवादककै शिल्प र क्षमतामा उभिएका छन् । कल्पना गरौं, अनुवाद नभए गीता, महाभारत वा रामायण नेपालीको घरघरै हुन्थ्यो होला ?
एकताका नेपालमा चिनियाँ र रुसी साहित्यको अनुवाद निकै फस्टाए । चिनियाँ साहित्यलाई निरञ्जन गोविन्द वैद्यले फैलाए भने रादुगा (इन्द्रेणी) र प्रोग्रेस (प्रगति) प्रकाशनमार्फत आन्तोन चेखव, लियो टल्सटाय, म्याक्सिम गोर्की, मिखाइल सोलोखोभ, निकोलाई गोगोललगायतका ४९ कृतिले नेपाली औतार पाए ।
भाषानुवाद परिषद्पछि नेपाल प्रज्ञाप्रतिष्ठानले सयको हाराहारीमा अन्य भाषाका कृति अनुवाद गरेको छ । १० वर्षअघि छुट्टै अनुवाद विभाग गठनपछि ‘रूपान्तरण’ चौमासिक अनुवाद पत्रिका र अनुवादक परिचय कोश छापिएका छन् । प्रज्ञाप्रतिष्ठानले दुई लाख राशिको अनुवाद पुरस्कार स्थापना गरेको छ ।
नेपालबाट देशबाहिर लाने, देशबाहिरबाट ल्याउने, मातृभाषाबाट नेपालीमा, नेपालीबाट मातृभाषामा लैजाने आदि थुप्रै काम छन् । तर, अनुवाद विभाग छ, बजेट छैन । अनुवादक परिचय कोशमा ७ सय ३० अनुवादक समेटिएका छन् । तिनले तीन हजारको हाराहारीमा कृति अनुवाद गरेका देखिन्छन् । त्यसमा महिला अनुवादक भने दुर्लभ छन् ।
भट्टराईका अनुसार, यसबीचमा त्रिभुवन विश्वविद्यालयले अनुवादको पाठ्यक्रम तयार गरेको छ भने पाँच जनाले त्यसमै विद्यावारिधि लिँदै छन् । ‘अनुवादमा पैसा छ भन्ने बुझेपछि एकथरी पेसेवर अनुवादक देखापरेका छन्, सङ्लो परिवेश, क्वारेन्टाइन र जाँचपास गर्ने अड्डा छैनन्,’ भट्टराई भन्छन्, ‘त्यसैले अनुवादमा हुने नैतिक र कानुनीलगायत आदि सबैखाले त्रुटि हामीकहाँ भेटिन्छन् ।’
खुला सिमानाका कारण भारतको हिन्दी बाटो हुँदै बिल क्लिन्टनदेखि नेल्सन मन्डेला, द होली बाइबलदेखि दास क्यापिटल, सिमोन बोउभारदेखि तसलिमा नसरिनसम्म कपीराइटबिनै हुर्दुराउँदै आइपुग्छन् । त्यो हेर्दा लाग्छ, अनुवाद नभएको केही छैन तर त्यस्तो गजब भएको पनि केही छैन । सुन्दर कृति, झुर अनुवाद, उफ् !
ती अनुवाद कति कमसल छन् भने तीभन्दा नोटरी पब्लिक र गुगल मेसिनले राम्रो काम गर्छन् । भट्टराई कुशल अनुवाद नभए पनि ज्ञान विस्तार भएकामा सन्तोष मान्नुपर्ने स्थिति रहेको सुनाउँछन् ।
विडम्बना के भने गतिला अनुवादकले ज्यालादारीमै चित्त बुझाउनुपर्ने अवस्था छ । तिनले मौलिक लेखकसरह प्रोत्साहन पनि पाएका छैनन् । स्तरीय कृति अनुवादका निम्ति न्यूनतम लगानीकर्तासमेत भेटिँदैनन् । अनुवादकले एकमुष्ट रकम लिने कि रोयल्टीमा गर्ने विकल्प पनि खुला भइसकेका छैनन् । अनूदित सामग्रीको स्तरवृद्धिका लागि ‘पियर रिभ्यू’ र मूल कृतिसँग रुजु गराउने चलन पनि छैन ।
यहाँनेर सन् २०१६ को म्यान बुकर प्राइज विजेता दक्षिण कोरियाली लेखक हाङ काङको ‘द भेजेटेरियन’ का ब्रिटिस अनुवादक डेब्रा स्मिथले पुरस्कारको ५० प्रतिशत हिस्सा लिएको दृष्टान्त स्मरणीय छ ।
‘मौलिक रचना गर्न सक्ने लेखकले अनुवाद गर्नु भनेको महादेवले हलाहल विष पिएजस्तै हो,’ अनुवादक मैनाली भन्छन्, ‘अनूदित किताबको कपीराइट बाँकी नै छ भने रोयल्टी मूल लेखकले पाउँछ, सकिएको भए प्रकाशकले आफैँसँग राख्छ । अनुवादकले पाउने सुरुको ज्याला मात्रै हो ।’
अलि पहिले अनुवादक मञ्जुश्री थापाले सुनाएकी थिइन्, विदेशतिर जीविका चलाउने हिसाबले अनुवादमा लाग्छन् भने नेपालमा अनुवादबाट जीविका चल्दैन भनेर अन्यत्र लाग्छन् ।
विश्व चेतना, व्यावहारिक ज्ञान र साहित्यको विस्तारका निम्ति अनुवाद अपरिहार्य छ । साहित्य लेख्न भाषा चाहिन्छ तर साहित्य, कला, सौन्दर्य, विचार भाषातीत हुन्छन् । नेपालमा अनुवादको ‘डाउनलोड’ र ‘अपलोड’ को अनुपात पनि मिलेको छैन ।
टिठलाग्दो अवस्था छ, नेपाली भाषाबाट अंग्रेजीमा पठाएका पुस्तकको । पाका अनुवादक अभि सुवेदीले नेपाली पुस्तकका कतिपय अंग्रेजी अनुवाद ‘सहिदको सूची’ मा चढेको टिप्पणी गर्दै आएका छन् ।
प्रश्न उठेको छ, आखिर अनुवाद कसका लागि ? अनुवादको लाभ बढीमा विदेशमा बसेका नेपाली पाठकले मात्रै लिएका छन् । ‘अनुवाद हुँदैमा सबै कृति राम्रा हुन् भन्न सकिँदैन,’ सगुना शाह भन्छिन्, ‘अनुवादको कर्ममा कृतिको मर्म हरायो भने बेमज्जा पो हुन्छ त ।’

दसैं विशेष

शत्रुको खोजी

रौनियारले तर्क गर्‍यो, ‘लठ्ठी हान्ने मान्छे बूढाकै आफन्त हुनुपर्छ । नत्र कुकुर भुकिहाल्थ्यो नि ।’
- शरच्चन्द्र वस्ती

विश्वेश्वरप्रसाद कोइरालाको प्रसिद्ध कथा हो, ‘शत्रु’ । त्यसमा ‘गाउँका सबभन्दा भद्र’ र प्रतिष्ठित मानिस कृष्ण रायमाथि एक रात कसैले लठ्ठी प्रहार गर्छ । संयोगवश लठ्ठीको प्रहार उनीमाथि पर्दैन, तर भित्तामा लागेर लठ्ठी भाँचिन्छ । आक्रमणकारी उनले देख्न नपाउँदै भागिसक्छ । जीवनमा कसैलाई आफ्नो शत्रु नबनाएको सन्तोषमा बाँचिरहेका कृष्ण रायको मनमा त्यसपछि अचानक थुप्रै शत्रु प्रकट हुन पुग्छन् । भोलिपल्ट प्रहरी उनीकहाँ पुग्दा सम्भावित आक्रमणकारीका रूपमा उनले धेरैको नाम लिन्छन् । प्रस्तुत छ, त्यसपछिको कथा ।

प्रहरी इन्स्पेक्टर प्रबल कार्कीले पाइन्टको गोजीबाट सेतो पन्जा निकालेर दुवै हातमा लगायो र भाँचिएको लठ्ठीका दुवै टुक्रा सरक्क उठाएर पोलिथिनको थैलोमा हाल्यो । सब इन्स्पेक्टर रोशन रौनियारलाई थैलो थमाएर चूपचाप बाहिर निस्क्यो र झ्याल वरपर निरीक्षण गर्न थाल्यो ।
‘आक्रमणकारी झ्यालबाटै भागेको त होला नि ?’ कार्कीको प्रश्न थियो ।
कृष्ण रायले भने, ‘भनिहालें नि, राति बत्ती निभाएर सुत्न लागेको थिएँ । अकस्मात् आक्रमण भयो । म उठुन्जेलमा आक्रमणकारी भागिसकेको थियो ।’
‘कसैलाई हारगुहार गर्नुभएन ?’
‘निकै बेरसम्म दिमागले कामै गरेन । त्यसपछि निदाएँछु ।’
‘चिन्ता नलिनोस्, हामी अपराधी पत्ता लगाउँछौं,’ कार्कीले भन्यो, ‘बरु हजूर एकचोटि प्रहरी चौकी सवारी भएर जाहेरी दर्ता गराइदिनुपर्ला ।’
प्रहरी चौकीमा ‘तपाईंलाई कसैमाथि शंका छ ?’ भनेर सोध्दा कृष्ण रायले अघि घरमा भनेझैं गम्भीर भएर उत्तर दिए, ‘रामे, बलभद्र, केदार युवक, गोविन्द पण्डित, कन्हैया मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली ।’
उनलाई चिया ख्वाएर बिदा गरेपछि रौनियारले भन्यो, ‘बूढालाई मान्नैपर्छ । त्यत्रो आक्रमण भएपछि पनि कसरी ढुक्कसँग निदाउन सक्या होला ? म भए त रातभरि आँखा झिमिक्क पार्न सक्तिनथें ।’
कार्कीले ‘अँ’ मात्र भन्यो । उसका आँखा लठ्ठीका टुक्रामा केन्द्रित थिए । एकै छिनमा ऊ डटपेन टोक्न थाल्यो । दिमागमा केही नयाँ कुरा खेल्न थाल्यो कि डटपेन टोक्ने उसको पुरानो बानी थियो ।
एक छिनपछि लामो सास फेरेर उसले भन्यो, ‘यो लठ्ठी फिंगरप्रिन्ट एक्सपर्टकहाँ पठाइदे । बूढाले चिया खाएको गिलास पनि सँगै पठाइदिनू । भरे एकपल्ट फेरि घटनास्थलमा जानुपर्छ ।’
साँझ पाँचबजेतिर उनीहरू कृष्ण रायकहाँ पुग्दा उनी सधैंझैं गाउँ घुम्न निस्किसकेका थिए । घरमा सुधो नोकर रामे र भान्से बाहुनी मात्र थिए । दुवैले रातिको घटनाबारे भोलिपल्ट प्रहरी आएपछि मात्र थाहा पाएको बताए । बूढाको धर्मपुत्र पुष्पराज भने घरमा थिएन ।
कृष्ण रायका सन्तान थिएनन् । पत्नी दुई वर्षअघि दिवंगत भइसकेकी । सन्तानको अभाव पूर्ति गर्न उनले टाढाको भतिजो पुष्पराजलाई धर्मपुत्र बनाएर पालेका थिए । ऊ अलिक पुलपुलिएको र फजूलखर्ची रहेछ । नयाँ साइकल किनिदिएनन् भनेर एक हप्ताअघि कृष्ण रायसँग झगडा गरेको रहेछ । त्यसपछि बूढासँग बोलेको थिएन रे । कृष्ण रायकी दिदी नजीकैको शहरमा बस्थिन् । लठ्ठी काण्ड भएको दिन ‘फुपूलाई आँप लगिदिन्छु’ भनेर पुरानो साइकलमा आधा बोरा आँप हालेर दिउसै शहर गएको, फर्केको रहेनछ ।
घरपछाडि खोरमा एउटा कुकुर थियो । त्यो चूपचाप बसिरहेको देखेर कार्कीले सोध्यो, ‘यो भुक्तैन ?’
‘दिउसो भुक्तैन हजूर,’ रामेले जानकारी दियो, ‘राति खोरबाट निकाल्छौं । त्यसपछि भुक्छ । रातभरि घर वरिपरि कसैलाई पाइला हाल्न पनि दिंदैन ।’
‘तर हिजो राति त यो पनि भुकेन,’ भान्से बाहुनीले भनिन् ।
चौकीमा फर्केपछि रौनियारले तर्क गर्‍यो, ‘लठ्ठी हान्ने मान्छे बूढाकै आफन्त हुनुपर्छ । नत्र कुकुर भुकिहाल्थ्यो नि ।’
‘ठीक भनिस्,’ कार्कीले भन्यो, ‘बूढाले जसजसका विरुद्ध किटानी जाहेरी दिएका छन्, अब तिनका बारेमा पत्ता लगाउनुपर्छ ।’
दोस्रो दिन, दिनभरि दौडधूप गरेर दुई भाइले धेरै कुरा पत्ता लगाए । तदनुसार ः
बलभद्र कृष्ण रायको हिसाबकिताब हेर्ने मान्छे रहेछन् । हिसाबकिताबमा गोलमाल गरेको थाहा पाएर बूढाले दुई हप्ताअघि नराम्ररी गाली गरेपछि जागीर छोडेका रहेछन् । हिजो राति उनको छोराको बिहे रहेछ । त्यो पनि कृष्ण रायले नाम लिएका, पल्लो गाउँका रामचन्द्र पराजुलीकी छोरीसँग । गोविन्द पण्डित र कन्हैया मास्टर पनि जन्ती गएका रहेछन् । चारै जना रातभरि बिहामै रहेछन् ।
केदार युवक महीना दिनअघि कृष्ण रायकहाँ काम माग्न आएको, तर बूढाले काममा नराखेको मानिस रहेछ । ऊ बस दुर्घटनामा परेर तीन दिनअघि अस्पताल भर्ना भएको रहेछ । दुवै खुट्टा भाँचिएका रहेछन् । कृष्ण रायले बेइमानीको आरोपमा कामबाट निकालेको बुधे नोकर अर्को गाउँमा चोरी गर्दागर्दै समातिएर जेल परेको रहेछ । लीला चाहिँ कृष्ण रायको भाइ पर्ने रहेछ, काकाको छोरो । ऊ पाँचजना गाउँलेसँगै तीर्थ गएको रहेछ ।
कार्की र रौनियारले ठहर गरे, यिनीहरूमध्ये कसैले पनि कृष्ण रायमाथि लठ्ठी प्रहार गरेका होइनन् । यसपछि शंका स्वाभाविक रूपले पुष्पराजमा केन्द्रित भयो ।
ऊ त्यसै दिन साँझ गाउँ फर्क्यो र तत्काल चौकीमा हाजिर गराइयो । उसले भन्यो, ‘शहरको साथीले नयाँ सिनेमा आएको छ भनेपछि ऊसँगै सिनेमा हेर्न इन्डिया गएको थिएँ ।’ साइकलको निहुँमा बूढासँग झगडा गरेको त उसले स्वीकार्‍यो, तर भन्यो, ‘आफ्नै बाबुमाथि म कसरी आक्रमण गर्न सक्छु ?’
अर्को दिन इन्स्पेक्टर कार्की शहर गयो । भारतीय सीमा नजीकैको शहर जिल्ला सदरमुकाम पनि थियो । उसले जिल्ला प्रहरी कार्यालयबाट लठ्ठीका टुक्रा सहित फिंगरप्रिन्टको रिपोर्ट संकलन गर्‍यो । रिपोर्ट पढेपछि उसका आँखा चम्कन थाले । ऊ डटपेन टोक्तै कृष्ण रायकी दिदीकहाँ पुग्यो ।
कार्कीलाई चिया दिन लाग्दा उसले झुन्ड्याएको पोलिथिनको थैलोमा लठ्ठीका टुक्रा देखेर उनी चिच्याइन्, ‘लौन नि, यो लठ्ठी कसरी भाँचियो ?’
‘तपाईं यो लठ्ठी चिन्नुहुन्छ र ?’ कार्की छक्क पर्‍यो ।
‘किन नचिन्नु बाबु, छ महीनाअघि मैले देहरादूनबाट दश रुपैयाँ हालेर कृष्ण भाइलाई ल्याइदिएको लठ्ठी त हो नि यो । यस्तो बुट्टा भएको लठ्ठी यताहुँदि कसैसँग छैन । लठ्ठीको मूठमुन्तिर मैले भाइको नाम पनि खोप्न लगाएकी थिएँ । नपत्याए हेर त !
नभन्दै, लठ्ठीको समात्ने ठाउँमुन्तिर मसीना अक्षरमा ‘कृष्ण’ लेखिएको रहेछ । कार्की फेरि डटपेन टोक्न थाल्यो ।
ऊ गाउँ फर्केपछि रौनियारले भन्यो, ‘त्यो पुष्पेलाई तुरुन्तै गिरफ्तार गरौं । लठ्ठी हान्ने उही हो । त्यसको कारण पनि छ, उद्देश्य पनि छ र उसको व्यवहार शंकास्पद पनि छ ।’
कार्कीले ‘अँ...’ भन्यो र कृष्ण राय तथा पुष्पराज दुवैलाई बोलाउन पठायो । उनीहरू आएपछि ‘अरू कसैलाई भित्र पस्न नदिनू’ भन्ने आदेश दिएर रौनियारलाई आफ्नो अफिसको ढोका ढप्क्याउन लगायो । र, गम्भीर स्वरमा घोषणा गर्‍यो, ‘यो बदमाशी कसको हो, मैले पत्ता लगाइसकें ।’
कृष्ण राय ट्वाल्ल परेर उसलाई हेर्न थाले । पुष्पराजका आँखामा कताकता डरजस्तो देखियो र रौनियारका आँखामा प्रसन्नता । ऊ पुष्पराजलाई पक्रन उसको कुर्सीनेर उभियो ।
कार्कीले कृष्ण रायका आँखामा आँखा जुधाएर भन्यो, ‘हजूरले यो के नाटक गर्नुभएको ? आफैंले लठ्ठी भाँचेर आफूमाथि आक्रमण भयो भन्ने, अनि बिनसित्ती हामीलाई दुःख दिने ?’
अब पुष्पराजको आँखाको डर कृष्ण रायका आँखामा सर्‍यो । रौनियार भने अलमल्ल परेको थियो ।
कार्की भन्दैगयो, ‘कच्चा इँटाको भित्तामा लागेर यति दरो लठ्ठी भाँचिएको भन्दा मलाई शुरूमै अनपत्यार लागेको थियो । हुन त घटनाक्रम र परिस्थितिले पुष्पराजमाथि शंका गर्ने पर्याप्त ठाउँ दिएको हो । तर मेरो दिमागले अर्कै शंका गरिरहेको थियो । फिंगरप्रिन्टको रिपोर्टले मेरो शंका पुष्टि गर्‍यो । लठ्ठीमा कृष्ण रायजी बाहेक अरू कसैको औंलाको छाप छैन । चियाको गिलासमा भएको र लठ्ठीमा भएको औंलाको छाप एउटै व्यक्तिको भनेर विशेषज्ञले प्रमाणित गरिसकेका छन् । त्यसमाथि दिदीले समेत यो लठ्ठी मेरो भाइकै हो भनेर प्रमाण नै देखाइदिएपछि त यो सब हजूरकै नाटक हो भन्ने कुरामा कुनै सन्देह बाँकी रहेन ।’
रौनियारका आँखा आश्चर्यले फैलिएका थिए । ऊ सोच्तैथियो, ‘यो कस्तो हाकिम होला, जहिले पनि मैले कल्पनै नगरेको तरीकाले अपराधी पत्ता लगाउँछ ।’
कृष्ण राय घोसेमुन्टो लगाएर चूपचाप भुइँतिर हेरिरहेका थिए । कार्कीले कडा स्वर गर्‍यो, ‘यो कानूनलाई झुक्याउने षडयन्त्र हो । यसबापत हजूरले सजाय भोग्नुपर्ने हुन्छ ।’
कृष्ण राय आत्तिएका थिए । आँखाभरि आँसु पारेर हात जोडे, ‘मबाट गल्ती भो बाबु । दिनदशा लागेर बुद्धि बिग्रेछ । अब आइन्दा यस्तो गल्ती हुनेछैन । एकपल्टलाई मेरो इज्जत जोगाइदिनोस् । बिन्ती छ ।’
वातावरण निकै गम्भीर भयो । पुष्पराजले पनि बूढालाई माफी दिन अनुरोध गर्‍यो ।
‘यो अपराधभन्दा पनि मानसिक समस्या हो,’ कार्कीको स्वर नरम भयो, ‘हजूर यो गाउँको सबैभन्दा भद्र र प्रतिष्ठित मानिस । त्यही भएर एकपल्टलाई छाडिदिन्छु । आइन्दा बुद्धि नबिगार्नुहोला । जानोस्, जाहेरी फिर्ता लिनोस् ।’
कृष्ण राय हात जोडिरहेकै थिए, कार्की मुस्कुरायो, ‘हजूरले किन यसो गर्नुभो भनेर त सोध्दिनँ । तर एउटा कुरा भन्नोस् न, त्यति दरो लठ्ठी कसरी भाँच्नुभो ?’
‘मेरो बलले त भाँचिदैनथ्यो बाबु ∕ अर्कै अक्किल लगाउनुपर्‍यो,’ बूढाले ङिच्च गरे ।

विशुद्धीकरण : ‘शत्रु’ कथा पहिलोपल्ट १९९५ सालमा छापिएको हो । त्यसवेला नेपालमा सर्वसाधारणले चिया खाने चलन आइसकेको थिएन । प्रहरी इन्स्पेक्टर, सब इन्स्पेक्टर जस्ता पद थिएनन् । ‘फिंगरप्रिन्ट एक्सपर्ट’ हुँदैनथे । डटपेन, पोलिथिनको थैलो, प्रहरीको गोजीमा सेता पन्जा आदि इत्यादि पनि थिएनन् । त्यसैले, विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यसलाई ८२ वर्षपछि, २०७७ सालमा लेखिएको उत्तर कथा भनेरै बुझ्नु मनासिब हुनेछ । 

Page 13
अर्थ वाणिज्य

म्याद नाघेका वस्तु बिक्री गर्ने संस्थानलाई संरक्षण

एउटै प्रकृतिको कैफियतमा केही समयअघि निजी कम्पनीलाई कारबाही गरेको सरकार सरकारी संस्थानलाई भने उन्मुक्ति दिने प्रयासमा छ
- राजु चौधरी
काठमाडौं बालाजुस्थित दुग्ध विकास संस्थानको दुग्ध वितरण आयोजनामा रहेको कोल्डस्टोरमा राखिएका बटरका बक्स । यहाँका प्रायः बक्समा लेबल थिएन । तस्बिर : राजु/कान्तिपुर

काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले गत आइतबार र मंगलबार क्रमशः खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम र दुग्ध विकास संस्थान (डीडीसी) को वितरण प्लान्टमा अनुगमन गर्‍यो । अनुगमनमा सरकारी संस्थानकै गोदाममा म्याद नाघेका र लेबल नभएका खाद्यान्न भेटिए । तर यी दुवै सरकारी संस्थानलाई कारबाही प्रक्रिया अघि बढाउन भने महानगरले आलटाल गरिरहेको छ । कारबाही अघि बढाउनुको साटो महानगरपालिका पन्छिन खोजेको छ ।
सरकारी संस्थानमा भएको अनुगमन, कैफियत र कारबाही प्रक्रियाबारे निर्णय लिन बुधबार मेयर, उपमेयर, सचिवसहितको बैठक बसेको महानगरपालिका स्रोतले जनाएको छ । त्यस क्रममा कुन कानुनले कारबाही गर्ने र कारबाही प्रक्रिया कसरी टुंग्याउने अन्योल बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालयलाई जिम्मा लगाउने निर्णय भएको थियो । लगत्तै महानगरपालिका सचिवले वाणिज्यका महानिर्देशक नेत्र सुवेदी र सीडीओ कार्यालयमा खबर गरेको बताइएको छ ।
‘संस्थानहरूलाई कारबाही अगाडि बढाउने भनिएको छ । तर कहाँ के–कसरी हुन्छ, थाहा भएन । सचिवज्यूले वाणिज्य र सीडीओ कार्यालयमा पठाउने भन्नुभयो,’ महानगर स्रोतले भन्यो, ‘अब कारबाही गर्ने, नगर्ने उहाँहरूको हातमा गयो ।’ महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले पनि वाणिज्य र जिल्ला प्रशासन कार्यालयलाई अनुगमनको व्यहोरा पठाइसकेको जानकारी दिए । ‘अनुगमनका क्रममा देखिएको कैफियतसहित आवश्यक छानबिन र कारबाही गर्न बुधबार नै पत्राचार गरेका छौं,’ उनले भने । सरकारी संस्थान भएकै कारण कारबाही गर्दा विवादमा फसिने भन्दै महानगर पन्छिन खोजेको स्रोतको दाबी छ । त्यही कारण बैठकपछि थप अध्ययन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई फाइल सुम्पिएको हो । जब कि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार वाणिज्य विभागले महानगरपालिकामै निरीक्षक अधिकृत तोकेको छ । सीडीओ कार्यालयमा पनि निरीक्षक अधिकृतको अधिकार दिएको छ । ती अधिकृतलाई वाणिज्य विभागको सरह अधिकार छ । उनीहरूले कारबाही गर्न सक्छन् । तर यो मुद्दामा महानगरपालिका आफू पन्छिन खोजेको जानकारहरू बताउँछन् ।
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र बजार अनुगमन निर्देशिकाअनुसार महानगरपालिकाले अनुगमन गरिरहेको छ । ऐनअनुसार उसको कारोबार बन्द गर्न सक्नेसमेत अधिकार छ । वाणिज्यले निरीक्षण अधिकृत तोकिएको अवस्थामा महानगर थप बलियो भएको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘तर महानगरपालिकाले अधिकार मिसयुज गरेको छ । अधिकार हुँदाहुँदै उसले यो मुद्दा पन्छाउन मिल्दैन । आफ्नो दायित्वबाट पन्छिन मिल्दैन, यो गैरजिम्मेवारीपन हो ।’ अनुगमन गर्ने तर अध्ययनअनुसन्धान नगरी अरूलाई पन्छाउने प्रवृत्तिले महानगरको अनुगमन औचित्यहीन देखिएको उनको भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले पनि उपभोक्ता संरक्षण ऐनको दफा ३३ अनुसार निरीक्षण अधिकृतले सबै अधिकार प्रयोग गर्न सक्ने बताए । ‘रिलेबलका विषयको टुंगो लगाउन निरीक्षकले सक्दैनन् । त्यो महानिर्देशकसमक्ष वा जिल्ला अदालतमा जानुपर्छ । त्योबाहेक निरीक्षक अधिकृतलाई सबै अधिकार दिएका छौं । महानगरपालिकाले आफ्नो क्षेत्रमा अधिकार प्रयोग गर्न सक्छ,’ उनले भने । महानगरपालिकाले के कारणले चिठी पठाएको हो, त्यो प्राप्त भएपछि अध्ययन गरिने आचार्यले बताए । ‘के कारणले चिठी पठायो हेर्छौं, या त क्षमता नभएर हो या अरू नै कुनै कारण हो, त्यो अध्ययन गर्छौं,’ उनले भने, ‘कुन स्वार्थले हामीलाई सिफारिस गर्‍यो, त्यसबारे पनि हेर्छौं । चिठी आएपछि जवाफ पठाउँछौं ।’
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको भनाइ पनि उस्तै छ । महानगरपालिकाको चिठी प्राप्त भएपछि अध्ययन गरिने उनले जानकारी दिए । ‘म्याद गुज्रेको भए प्रहरीले अनुसन्धान गरेर कालोबजारी ऐनअनुसार कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गर्नुपर्छ । अर्को कुरा वाणिज्यले निरीक्षक अधिकृत तोकेकै छ,’ दुलालले भने, ‘ती अधिकृतले सबै छानबिन गरेर रिलेबलको हकमा मात्रै वाणिज्यका महानिर्देशकसमक्ष मुद्दा दर्ता गर्छन् । अहिले स्थानीय सरकारले आफैंले अनुगमन र कारबाही पनि गर्न सक्छन् ।’ एउटै प्रकृतिको कैफियतमा सरकारी संस्थानलाई उन्मुक्ति दिने र निजी क्षेत्रका व्यवसायीलाई कारबाही गर्दा निजी क्षेत्रले आपत्ति जनाएको छ ।

के थियो घटना ?
महानगरपालिकाको अनुगमन टोलीले थापाथलीस्थित खाद्यको गोदाममा अनुगमन गर्दा जापानबाट अनुदानमा आएको चामलको मिति थिएन । चामलका केही बोरामा उत्पादन मिति २०१८ उल्लेख भए पनि म्याद सकिएको थियो । सामान्यतया म्याद १ वर्षको हुन्छ । तर कम्पनीका कर्मचारीले चामलको म्याद दुई वर्ष बताएका थिए । दुई वर्ष नै मान्दा पनि म्याद सकिएको अनुगमन टोलीको निष्कर्ष थियो । गोदाममै रहेको फापरको प्याकेटमा पनि लेबल थिएन । दुग्ध विकास संस्थान (डीडीसी) को गोदाममा अनुगमन गर्दा पनि यस्तै समस्या देखिएको थियो । बालाजुस्थित संस्थानको वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो मौज्दात बटरमध्ये प्रायको म्याद सकिएको थियो । केही प्याकेजिङमा उपभोगका लागि ८ महिनासम्म राम्रो लेखिएको छ । उत्पादन मिति भने नोभेम्बर २०१९, डिसेम्बर २०१९ मात्रै पाइएको छ । ती बटर २५/२५ किलोको कार्टोनमा राखिएको छ । प्रायः कार्टोनमा लेबल नै नभएको महानगर अनुगमन टोलीले बताएको थियो ।

अर्थ वाणिज्य

प्रयोग गर्न नमिल्ने खाद्यवस्तु छ्यापछ्याप्ती

- भवानी भट्ट

महेन्द्रनगर बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त अनुगमनका क्रममा तरकारी पसलका गोदाममा प्याज लुकाएको भेटिएको छ ।
अनुगमनका क्रममा शुक्रबार महेन्द्रनगर बजारको गल्ली नम्बर ४ मा रहेको एउटै तरकारी पसलको गोदामबाट झन्डै ७ क्विन्टल प्याज बरामद गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकीय अधिकृत कल्पना भट्टले जानकारी दिइन् । उक्त तरकारी पसलका सञ्चालकलाई ५ हजार जरिवाना गरिएको उनले बताइन् । ‘प्याजको कालोबजारी भएको भन्दै धेरै ठाउँबाट गुनासो आइरहेको थियो,’ उनले भनिन्, ‘त्यही भएर आज पहिलो दिन तरकारी पसलबाटै अनुगमन सुरु गरेका हौं ।’ भारतबाट आयात भइरहेको प्याज गोदाममा थन्क्याएर कालोबजारी भइरहेको स्थानीयबाट गुनासो आएको थियो । सोही आधारमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको हो ।
तरकारी मात्रै होइन, खाद्यान्नमा समेत गुण्स्तरहीन र म्याद गुज्रेका वस्तु बिक्री भइरहेको पाइएको छ । अनुगमनका क्रममा महेन्द्रनगरकै सब्जीमन्डी क्षेत्रका किराना पसलमा गरिएको अनुगमनका क्रममा पेय पदार्थ, चियापत्ती र फास्ट फुड म्याद नाघेको भेटिएको अनुगमन टोलीमा रहेका खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताए । ‘म्याद गुज्रेका सबै वस्तु बरामद गरिएको छ,’ उनले भने ।
टोलीले बजार क्षेत्रका मिठाई पसलमा पनि अनुगमन गरेको छ । तिनमा सरसफाइ नगरिएको, खाद्यान्न खुला राखेको र झिँगा भन्किएको भेटिएकाले सञ्चालकलाई सचेत गरिएको दाहालले बताए । ‘चाडपर्वका बेला म्याद नाघेका र गुणस्तरहीन वस्तुको बिक्री बढ्ने भएकाले अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘पहिलो दिन महेन्द्रनगरमा अनुगमन गर्‍यौं, अब यसलाई अरूतिर पनि निरन्तरता दिन्छौं ।’
महेन्द्रनगरलगायत जिल्लाका ग्रामीण भेगका स–साना बजारमा समेत म्याद नाघेका र गुणस्तरहीन खाद्यवस्तु बिक्री भइरहेको स्थानीय बताउँछन् । तर स्थानीय प्रशासनले यसतर्फ चासो दिएको छैन । दसैं नजिकिँदै गर्दा मात्रै अनुगमन गर्ने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ । दसैं सुरु हुनै लाग्दा प्रशसनले शुक्रबारदेखि अनुगमन सुरु गरेको हो ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलालीको चिसापानी, लम्की, टीकापुरलगायत क्षेत्रमा सञ्चालनमा रहेका पानी उद्योगमा समेत अनुगमन गरेको थियो । उक्त क्षेत्रमा मापदण्डविपरीत सञ्चालनमा रहेका ४ उद्योगलाई सुधार गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको दाहालले बताए । ती उद्योग अहिले बन्द गरिएको छ ।

अर्थ वाणिज्य

गुणस्तर नपुगेका सेनिटाइजर कम्पनीमाथि कडाइ

मापदण्ड नपुर्‍याई सेनिटाइजर उत्पादन गर्ने २० कम्पनीलाई कारबाही गर्दै विभाग
- नुमा थाम्सुहाङ

औषधि व्यवस्था विभागले २० वटा सेनिटाइजर कम्पनीलाई कारबाही गर्ने भएको छ । विभागले मापदण्ड नपुर्‍याई सेनिटाइजर उत्पादन गर्ने ती कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।
‘मापदण्डभित्र नरहेका सेनिटाइजर कम्पनीलाई कारबाही गर्दै छौं,’ ढकालले भने, ‘यस विषयमा अहिले अनुसन्धान हुँदै छ । अहिले जानकारी माग्ने, प्रमाण र सूचना खोज्दै छौं ।’ अहिले २० वटा सेनिटाइजर कम्पनी हेरिरहेका छौं । अरू कम्पनीका विषयमा उत्पादन ल्याबमा टेस्ट गर्ने काम भइरहेको उनले जानकारी दिए ।
‘कस्मेटिक, स्वास्थ्य सामग्री र साबुन उत्पादन गरिरहेका उद्योगले पनि सेनिटाइजर बनाएर बेचिरहेका छन्,’ उनले भने, ‘त्यसैले मापदण्डभित्र रहेर गुणस्तरीय सेनिटाइजर उत्पादनका लागि छ महिनाको समय दिएका थियौं । तर उनीहरूले त्यो समयभित्र गुणस्तरयुक्त सेनिटाइजर बनाएनन् ।’
विभागले तोकेको मापदण्ड इथानोलबाहेकका अन्य रसायन प्रयोग गरेको पाइएकाले कारबाही गरिएको उनले जानकारी दिए । मापदण्डभित्रमा रहेका सेनिटाइजर उद्योगलाई उत्पादनका लागि अगाडि बडाइरहेको ढकालले बताए । ‘विभागले ७०–८० प्रतिशतको अल्कोहल बेस इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजरलाई मान्यता दिएको हो,’ उनले भने, ‘यसका अन्य सूत्र पनि छन् । त्यो पूरा गर्नुपर्छ ।’
यी मापदण्ड पूरा गरेका सेनिटाइजर बजारमा बिक्री गर्न पाइन्छ । कोभिड–१९ संक्रमण चुलिएसँगै यति बेला ह्यान्ड स्यानिटाइजरको माग बढेको छ । माग बढेसँगै बजारमा कम गुणस्तर र मापदण्ड बाहिरका सेनिटाइजर खुला रूपमा बिक्री भइरहेको पाइन्छ । गुणस्तरहीन र मापदण्डबाहिरका ह्यान्ड सेनिटाइजरलाई विभागले बिक्रीवितरणमा रोक लगाएको छ ।
यसैबीच विभागले ४० वटा नयाँ कम्पनीलाई सेनिटाइजर उत्पादनको स्वीकृति दिइसकेको छ । विभागले २०७६ चैत ९ देखि २०७७ असोज २२ सम्म सेनिटाइजर उत्पादन गर्न इच्छुक स्वदेशी उद्योगलाई स्वीकृति दिएको हो ।

२६ करोडको सेनिटाइजर, १४ करोडको मास्क
आर्थिक वर्ष २०७७/७८ को साउन र भदौमा २६ करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको सेनिटाइजर र १४ करोड ५२ लाख १४ हजार रुपैयाँ बराबरको फेस मास्क आयात भएको भन्सार विभागको तथ्यांक छ । यो अवधिमा ७ लाख १ हजार ३ सय ८१ किलो सेनिटाइजर र १ करोड ६१ लाख ६७ हजार ९ सय २४ केजी फेस मास्क भित्रिएको छ । साथै ८ करोड ५५ लाख ६९ हजार रुपैयाँ बराबरको २ लाख १६ हजार ८ सय ९२ किलो अन्य किसिमका डिसइन्फेक्टेड आयात भएको विभागको तथ्यांक छ ।
सेनिटाइजरबाट विभागले ५ करोड ४४ हजार रुपैयाँ र अन्य डिसइन्फेक्टेडबाट १ करोड ६१ लाख ९० हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । त्यस्तै फेस मास्कबाट २ करोड ७३ लाख १ हजार रुपैयाँ भन्सार महसुल संकलन भएको छ । यी सेनिटाइजर, डिसइन्फेक्टेड र फेस मास्क चीन, भारत, जापान, मलेसिया, थाइल्यान्डलगायत देशबाट आएको विभागको तथ्यांकले देखाउँछ । कोभिड–१९ को संक्रमण बढेसँगै सेनिटाइजरको प्रयोग, उत्पादन र माग बढेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्रीले बताए । ‘नेपालमा उत्पादन गर्ने उद्योग खासै थिएनन्,’ उनले भने, ‘अहिले ३० वटा औषधि उद्योगले अनुमति लिएर सेनिटाइजर उत्पादन गरिरहेका छन् ।’ नेपालमा औषधि उत्पादन र बिक्री वितरण गर्ने उद्योग ६० वटा रहेको उनले जानकारी दिए ।
‘आयात गरिएका र केही उद्योगले उत्पादन गरेका सेनिटाइजर कम गुणस्तरका पाइएका छन्,’ उनले भने, ‘संघअन्तर्गतका सेनिटाइजर उत्पादन गर्ने उद्योगलाई गुणस्तरयुक्त र औषधि व्यवस्था विभागले तोकेको मापदण्डमा रहेर उत्पादन गर्न भनेका छौं ।’ नेपाल औषधि लिमिटेडले चैत २ देखि सेनिटाइजर उत्पादन सुरु गरेको थियो । नेपाल औषधि लिमिटेडले चैत २ देखि सेनिटाइजर उत्पादन सुरु गरेको हो । कम्पनीको प्रतिदिन एक सय मिलिलिटरका २० हजार बोटल उत्पादन क्षमता रहेको लिमिटेडका निमित्त महाप्रबन्धक विजयरत्न वज्राचार्यले बताए । ‘हामी अहिले पूर्ण क्षमताको ५० प्रतिशतमा मात्र सेनिटाइजर उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘प्रतिदिन डेढ–दुई लाख रुपैयाँ बराबरको सेनिटाइजर बिक्री भइरहेको छ ।’ कम्पनीले १ सय, २ सय र ५ सय मिलिलिटर सेनिटाइजरका क्रमशः १ सय २५, २ सय ५० र ४ सय ५० रुपैयाँ मूल्य राखेको उनले जानकारी दिए ।
‘५ सय मिलिलिटर डिस्पेन्सरसहितको सेनिटाइजरको मूल्य भने ८ सय ६० रुपैयाँ छ,’ उनले भने, ‘पाँच लिटरको जर्किनको सेनिटाइजरको मूल्य ३ हजार रुपैयाँ पर्छ । यो विशेषगरी संस्थाहरूले लिने गरेका छन् ।’ कम्पनीले ८० प्रतिशत अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर उत्पादन गर्दै आएको उनको दाबी छ । सेनिटाइजर प्रयोग गरिसकेपछि कोभिड–१९ का कीटाणु मर्नुपर्‍यो,’ उनले भने, ‘बजारमा अहिले पनि कम गुणस्तरका ह्यान्ड सेनिटाइजरहरू पाइन्छन् । सर्वसाधारणले तिनको गुणस्तर नाप्न सक्दैनन् । यसमा औषधि विभागले नै कडाइ एवं नियमन गर्नुपर्छ ।’

Page 14
खेलकुद

‘रिह्याब’, चोटमा साथी

- हिमेश
समिद कतिला

समिद कतिला खासमा फिजिरोथेरापिस्ट होइनन्, कलाकार हुनुपर्ने मान्छे हुन् । कलाकार नाटककै सही वा गायक । उनी प्रायः रचनात्मक उपद्रो गरिरहन्छन् । फेरि यिनको नाम पनि सम्झिन गाह्रो । तर एकपल्ट भेटेपछि यिनको नामै बिर्से पनि मान्छे स्वयं भने याद आइरहने खाले छन् ।
सन् २०१४ मा इन्डोनेसियाविरुद्ध मलाङमा भएको मैत्रीपूर्ण फुटबलमा उनी नेपाली राष्ट्रिय टिमका फिजियोथेरापिस्ट थिए । सायद त्यतिबेला कच्चा थिए । उनको मनमा यस्तो गरे कस्तो होला, यस्तो नगरे कस्तो होला भन्ने धेरै प्रश्न हुन्थ्यो ।
इन्डोनेसिया भ्रमणका क्रममा उनीसँग दोस्ती भएको थियो । त्यही बेला उनले एउटा सपना बुनेका थिए, खेलाडीलाई चोट लागेपछि निको हुने क्रममा चाहिने ‘रिह्याब सेन्टर’ खोल्ने । अहिले उनलाई सायद राम्रोसँग याद नहुन सक्छ, त्यो सपना । जेहोस्, अहिले उनी धेरै हदसम्म परिपक्व भइसकेका छन् । कतिलाले खोलेका छन् ‘अर्थोप्लास्ट स्पोर्टस रिह्याबिलिटेसन एन्ड रिकभरी युनिट’ । ज्यादा शब्दको जाल भयो यो त । सिधा सिधाभन्दा खेलाडीलाई चोट लागेपछि ठीक ढंगले निको हुने संयोग गर्ने एकाइ भनौं न ।
भर्खर सञ्चालनमा आएको यो एकाइ ग्वार्कोको अर्थोप्लास्ट रिह्याब सेन्टरको हो । यसअघि खेलाडीलाई अरू सबैखाले विरामीसँगै उपचार गरिन्थ्यो, तर यसमा मज्जा थिएन । त्यसैले एउटा ठूलो कोठालाई खाली खेलकुदसँग जोडिएको छ र त्यहाँ प्रवेश गर्दा लाग्छ, यो कुनै रंगशालाको कुना हो । पक्कै यसको सजावट सोच समिदकै हुनुपर्छ । त्यसो त उनी फिजियोथेरापिस्ट त हुन्, तर ठ्याक्कै खेलसँग जोडिएका होइनन् । खेलसँग ठ्याक्कै जोडिएका भने सुरज भुसाल हुन् ।
उनीको नेपाली फुटबलसँग जोडिएको लामो समय भइसकेको छ । मछिन्द्र क्लबले पछिल्लो समय लिग जित्दा उनी त्यस टिमका फिजियोथेरापिस्ट थिए । यसलाई हाम्रो पारामा भन्दा हुने रहेछ, ‘भौतिक चिकित्सक’ । त्यस रिह्याब सेन्टरमा समिद र सुरज ठू–ठूला निर्देशकका पदमा छन् । नेपालमा निजी क्षेत्रमा खेलकुदको रिह्याब सेन्टर खुलेको यो नै पहिलोपल्ट हो । यो अर्थमा उनीहरूले नेपाली खेलकुदमा ठूलै गुन लगाएका छन् । खेलाडीलाई उपचार गर्दा उनीहरू राम्रै छुट दिने दाबी गर्छन् ।
तर यो कथा त्यही रिह्याब सेन्टरको धेरै बखान गर्न होइन । बरू हो त यसले उठाएको जरुरी र सान्दर्भिक मुद्दा ।

जहाँ खेल, त्यहाँ चोट हुने भयो नै । यसका धेरै पाटा छन् । एक त खेलाडीले आफूलाई कसरी चोट लाग्न सक्छ र यसबाट कसरी बच्ने हो, त्यसबारे राम्रो जानकारी राख्नुपर्‍यो । अनि चोट नै लागेपछि यसको गम्भीरता हेरेर दुई सम्भावित अवस्था हुनसक्छ । चोट सामान्य छ भने रिह्याबमा गए भइहाल्यो, होइन भने शल्यक्रिया चाहियो । त्यस स्थितिमा शल्यक्रियापछि फेरि रिह्याब ।

प्रतिभाको घटना
काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टिमले रजत पदक जित्दा त्यसका नायिका थिइन्, प्रतिभा माली । चारैतर्फ वाहवाही छाएको थियो उनको । हुन पनि यी स्पाइकरको खेल हेर्दा मन खुसी हुने खालको छ । तर उनको आफ्नै खुसी भने त्यो प्रतियोगितापछि लामो समय टिकेन, त्यसको महिना दिनपछि नै चोटग्रस्त भइहाल्यो । त्यो पनि नराम्रोसँग । अझ जटिल खालेभन्दा हुन्छ । तुरुन्त शल्यक्रिया भयो, यसमा संलग्न चिकित्सक थिए, रुपेश वैद्य ।
चिकित्सकीय भाषामा भन्दा प्रतिभाको लिगामेन्ट च्याटिएको थियो, देब्रे ‘मेनिकस’ गएको थियो । धन्न तुरुन्तै शल्यक्रिया भयो । तर उनी अझै पूर्णतः निको भएकी छैनन्, उनको यही रिह्याब सेन्टर उपचार चलिरहेको छ । लगभग ८ महिना भइसकेको छ, उनको रिह्याब सुरु भएको । उनी निको हुने क्रममा छन्, अहिले सामान्य अभ्याससम्म सुरु गरिसकेकी छैनन् । तर अहिले नै कोर्टमा उत्रने समय भएको छैन । त्यसै पनि प्रतिभा निहँॅबिना मुसुक्क हाँसिरहनुपर्ने खेलाडी हुन् ।
तर उपचारका बेला उनको यही मुसुक्क हाँसिरहनुपर्ने अनुहारमा पीडा झल्कन्छ । आठ महिना भयो, दिनहुँ रिह्याबका लागि घरबाट धाएको । खर्च आफ्नै ठाउँमा छ, भनिरहनुपर्दैन, यो महँगै छ । पछिल्लो समय यही कारणले त हो, खेलाडीको चोटमा बिमा गर्नुपर्ने आवाज चर्को उठेको । सबै आफ्नै खर्चले उपचार गर्ने हो भने खेलाडीले खेल त छाड्छ नै, उल्टै खेलकुदलाई पनि सराप्छ । खाली रिह्याबमै मात्र दुई–तीन लाख रुपैयाँ मज्जाले लाग्छ ।
खर्च आफ्नो ठाउँमा छँदै छ, त्यसमाथि चोटग्रस्ट खेलाडी कति धेरै मानसिक दबाबबाट गुज्रिनुपर्ने हो, त्यसको हिसाबकिताब नै छैन । त्यही रिह्याब सेन्टरमा बास्केटबलकी सबिता खड्का पनि भेटिइन् । उनले उपचार सुरु गरेको पनि लामै समय भइसकेको छ । उनले यसक्रममा के कस्तो दुःख पाइन्, त्यसको कथा फेहरिस्त नै छ । जतिबेला नेपालमा खेलाडीलाई चोट लाग्छ नि तिनलाई साथ दिन संघदेखि यसका सबै पदाधिकारी भाग्ने गर्छन् । नपत्याए, सबितालाई सोधे हुन्छ ।

चोटबारे पूर्णतः अज्ञान
खेलाडीलाई चोट खेल हेरेर हुँदोरहेछ । जस्तो फुटबलमा ह्यामट्रिङदेखि घुँडा र कुर्कुंच्चाको चोट लाग्ने सम्भावना हुन्छ । क्रिकेटमा ‘ब्याकपेन’ देखि काँध, कुहिना र घुँडामा चोट हुने सम्भावना बढी हुन्छ । फेरि क्रिकेटमा तीव्र गतिका बलरलाई जस्तो चोटको सम्भानावना बढी हुन्छ, त्यस्तो चोट स्पिनरलाई नहुन सक्छ । ब्याट्सम्यानको चोट त झन अर्कै हुनसक्छ । धन्न नेपाली खेलकुदमा फुटबल र क्रिकेट नै त्यस्ता दुई खेल हुन्, जसका खेलाडीलाई सम्भावित चोटबारे ठीकै जानकारी राख्छन् ।
यी दुई खेल छाडेर अन्य खेलका खेलाडीलाई त केही पनि जानकारी छैनभन्दा हुन्छ, केही अपवादलाई छाडेर । सम्भावित चोट र यसको उपचारबारे अधिकांश नेपाली खेलाडीमा ज्ञान छैनभन्दा फरक पर्दैन । रिह्याब आफैंमा सम्पूर्ण उपचार होइन, यसका लागि चोटग्रस्त खेलाडी कति धैर्यवान छन् र कति दबाबमा आउने गर्दैनन्, त्यसले पनि फरक पार्छ । त्यसो भनेको चोटबाट बच्नु र उपचारबाट गुज्रिनु भनेको शारीरिक मात्र पक्कै होइन, मानसिक पनि हो, मानसिक रूपमा उत्तिकै बलियो हुनुपर्छ ।

चिकित्सकको भूमिका
खेलाडीको सम्भावित चोट र त्यसको उपचारमा खेलकुद विधाकै फिजियोथेरापिस्ट त चाहियो नै । यसमा यही विधाकै चिकित्सकको उत्तिकै भूमिका हुन्छ । अब त नेपालमै पनि ‘अर्थोपेडिक अर्थोस्कोपिक स्पोर्टस सर्जन’ पनि एक दर्जन जति भए । खेलकुदबारे नै अध्ययन गरेका फिजियोथेरापिस्ट बाक्लै संख्यामा उत्पादन भइसकेका छन् । अब प्रश्न के यी प्राविधिक जनशक्तिको ठीक ढंगले नेपाली खेलकुदले उपयोग गर्न सकेको छ त ? पक्कै छैन । छँदै छैनभन्दा पनि हुन्छ ।
बरू सबैभन्दा ठूलो समस्या त के भने नेपालमा प्रशिक्षक वा व्यवस्थापक, नभएर कोही सिनियर खेलाडी नै आफैं चिकित्सक र फिजियोथेरापिस्ट भइदिन्छन् र उपचारमा सहभागी हुन्छन् । यो वास्तवमै अर्को जटिल समस्या भयो । यही विधाका एक चिकित्सक राजीवराज मानन्धर भन्छन्, ‘खेलाडीको चोट कति गहिरो छ, त्यो उपचारमा महत्त्वपूर्ण हुन्छ । त्यसको ठीक समयमा ठीक पहिचान गर्न सक्नुपर्छ । उपचारका क्रममा ठीक सल्लाह अवाश्यक छ । शल्यक्रिया र रिह्याब चोटको उपचारका दुई निर्णायक पाटा हुन् ।’
समिद र सुरज चोटग्रस्त खेलाडीको उपचारमा संलग्न भएको पनि धेरै समय भइसकेको छ । त्यसैले उनीहरूसँग थरीथरीका बहुमूल्य उदाहरण छन् । उनीहरू भन्छन्, नेपाली खेलकुदले यो विधा केही हदसम्म नयाँ हो अनि यसलाई हेपिरहने काम गरिरहेको छ । त्यसैले यसमा जाकरुकता धेरै आवश्यक छ । उनीहरू फुटबलका केही यस्ता पुराना खेलाडीको नाम लिन्छन्, जसले समयमै उपचार र ठीक सल्लाह पाएको भए, उनीहरूको खेलजीवन चाँडै सकिने थिएन ।
अनि जतिबेला ठीक उपचारपछि खेलाडी मैदानमा आउँछन् र राम्रोसँग खेल्छन्, त्यसको मज्जा नै शतप्रतिशत बढी हुने गर्छ । जस्तो फुटबलकै उदाहरण पेस गर्दा थ्रीस्टार क्लबका विक्रम लामा । फुटबलकै अर्को उदाहरण किरण चेम्जोङ पनि छन् । उनी चोटप्रति सजग छन् । दिनहुँ एक्लै भए नि अभ्यास गरिरहन्छन्, बानीबेहोरा ठीक छ । फिजियोथेरापिस्टका लागि किरण ‘आइडियल’ खेलाडी हुन् । बाँकी रह्यो, समिद र सुरजको कुरा । भन्छन्, ‘खेलकुद नै त्यस्तो क्षेत्र हो, एकपल्ट यसमा प्रवेश गरेपछि यसमै जोडिन चाहिरहने इच्छा छ । रिह्याब सेन्टरबाट हामी धेरै अपेक्षा गर्न सक्छौं ।’ 

तस्बिर : कान्तिपुर

खेलकुद

फुटबलमा बंगलादेशविरुद्ध खेल्न सरकारको स्वीकृति

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– राष्ट्रिय खेलकुद परिषदले नेपाली राष्ट्रिय टिमलाई बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि शुक्रबार स्वीकृति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाका प्रवक्ता किरण राईले भने, ‘विश्वकप छनोटका खेलको तयारीमा बंगलादेशले नेपालसाग दुई म्याच खेल्न प्रस्ताव गरेको थियो । त्यसका लागि नेपाली टिमलाई खेलाउन परिषदले स्वीकृति दिएको हो ।’ फिफाले अन्तर्राष्ट्रिय खेलका लागि नोभेम्बर ११ देखि १९ को अवधि तोकिदिएको छ र त्यही अवधिमा मैत्रीपूर्ण खेलका लागि
बंगलादेश फुटबल महासंघले एन्फासाग प्रस्ताव गरेको हो ।
‘खेलको मिति र आयोजनास्थल निश्चित भइसकेको छैन तर बंगलादेशले उतै खेल्न प्रस्ताव गरेको हो र दुवै खेल उतै हुनसक्छ,’ प्रवक्ता राईले भने । उक्त खेल सम्भव भएमा नेपाली टिमका लागि त्यो प्रतिस्पर्धा कोरोना भाइरसको महामारी फैलिएयताकै पहिलो हुनेछ । विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा नेपालले १९ नोभेम्बर २०१९ मा घरेलु खेलको रुपमा थिम्पूमा कुवेतविरुद्ध प्रतिस्पर्धा गरेको थियो । त्यसमा खाडी मुलुकले १–० को जित हात पारेको थियो । प्रवक्ताका अनुसार नेपाली टिमसाग मैत्रीपूर्ण खेलका लागि मंगोलिया र डोमिनिकन रिपब्लिकले पनि प्रस्ताव गरेका थिए । ‘तर, ती दुई देशसाग खेल्नेबारे कुनै निर्णय गरिएको छैन,’ उनले भने ।
राष्ट्रिय टिमको प्रशिक्षण दसैंपछि सुरु गर्ने एन्फाले जनाएको छ । गत महिना एन्फाले प्रशिक्षणलाई खेलाडी बोलाएपनि विश्वकप छनोटका खेल फेरि स्थगित भएपछि खेलाडीलाई घर फर्काएको थियो । कोरोना संक्रमण तीव्र भएपछि फुटबल गतिविधि ठप्प भएको हो । युरोप, दक्षिण अमेरिका, छिमेकी भारतमै पनि फुटबल पुनः सुचारु भए पनि नेपालमा ठप्प नै छ । चैत ११ मा लकडाउन घोषणा गर्नुअघि रोकिएको सहिद स्मारक बी डिभिजन लिग अझै सुचारु गर्नेबारे एन्फाले कुनै निर्णय गरेको छैन ।
‘होम एन्ड अवे’का आधारमा भइरहेको विश्वकप छनोटमा नेपालले ५ खेल खेलेको छ । त्यसमा ४ हार र १ जितको (चाइनिज ताइपेईविरुद्ध २–०) नतिजा निकालेको छ । अब नेपालले जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध ‘होम ग्राउन्ड’मा खेल्न बााकी छ । नेपालका लागि विश्वकप छनोटमा तेस्रो चरण प्रवेशको सम्भावना लगभग समाप्त भइसकेको अवस्थामा यी तीन खेल महादेशीय च्याम्पियनसिपको छनोटलाई भने महत्वपूर्ण छ ।

खेलकुद

कोलकाताको नतिजा उस्तै

- कान्तिपुर संवाददाता

अबुधाबी (एजेन्सी)– दिनेश कार्तिकले ब्याटिङमा केन्द्रित हुने बताउँदै कप्तानी पद छाडिदिए । उनको स्थानमा विश्वकप विजयी कप्तान इयोन मोर्गनले कोलकाता नाइट राइडर्सको नेतृत्वको मोर्चा सम्हाले । यसले न कार्तिकको ब्याटिङमा सुधार आयो न त मोर्गनले नै कोलकातालाई जिताउन सके ।
कोलकाता इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार मुम्बई इन्डियन्ससँग ८ विकेटले पराजित हुन पुग्यो । टस जितेको कोलकाताले अबुधाबीस्थित शेख जायेद रंगशालामा १४८–५ को स्कोरमात्र बनाउन सक्यो । रोहित शर्मा र क्विन्टन डी ककले उत्कृष्ट सुरुआत दिलाएपछि मुम्बईले १६.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । कप्तान रोहित शर्मा ३५ रनमा आउट भए । डी ककले ४४ बलमा ९ चौका र ३ छक्कासहित अविजित ७८ रन बनाए ।
यस जितपछि मुम्बई पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । ८ खेलको समाप्तिमा दिल्लीसँगै समान १२ अंक जोडेको मुम्बई राम्रो रनरेटका आधारमा शीर्षस्थानमा छ । कोलकाता ८ अंकसहित चौथो स्थानमा छ । सबै टोलीले समान १४ खेल खेलेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । कोलकातालाई शीर्ष चारभित्र रहन पुछारका चार टोलीबाट चुनौती आउने निश्चित छ ।
कार्तिक ४, एन्ड्रयु रसेल १२, राहुल त्रिपाठी ७, शुभमन गिल २१ र नितिश राना ५ रनमै आउट भएपछि कोलकाताको इज्जत अस्ट्रेलियन बलर प्याट कमिन्सको ब्याटले केही हद जोगायो । उनले ३६ बलमा ५ चौका र २ छक्कासहित अविजित ५३ रन बनाए । नयाँ कप्तान मोर्गनले २९ बलमा २ चौका र २ छक्कासहित ३९ रन बनाए ।