You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

भ्याक्सिन सुरुमा स्वास्थ्यकर्मीलाई

- मकर श्रेष्ठ

(काठमाडौं)- स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको भ्याक्सिन भण्डारणदेखि व्यवस्थापन गर्न छुट्टाछुट्टै समिति बनाएर काम अघि बढाएको छ । अमेरिकी कम्पनी फाइजर र मोडर्ना, बेलायतको अक्सफोर्ड विश्वविद्यालय, रुसी स्पुतनिक–५ को खोपको अन्तिम परीक्षण भइरहेका बेला मन्त्रालयले खोप व्यवस्थापन गर्न भ्याक्सिनको द्रुत कार्य योजना पारित गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट बिहीबार पारित योजनामा आठवटा
क्षेत्र पहिचान गरी समिति गठन गरिएको छ । सरकारले सहज रूपमा भ्याक्सिन आयात गर्न यसअघि नै औषधि अध्यादेश जारी गरेर कानुनी बाटो खुला गरिसकेको छ ।
भ्याक्सिन ल्याउन, भण्डारण गर्न, खोप लगाउने व्यक्तिको पहिचानलगायतको काम गर्न आठवटा समिति गठन गरिएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । कार्ययोजनाअनुसार खोप व्यवस्थापनको छुट्टै सचिवालय रहनेछ । सचिवालयको संयोजक स्वास्थ्य सेवा विभागका महानिर्देशक हुनेछन् । विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह छन् । त्यस्तै खोप व्यवस्थापनको प्राविधिक तयारी समितिमा विज्ञहरूलाई राखिएको छ । यो समितिको संयोजकमा खोप विज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेती छन् । त्यस्तै पूर्वाधार विश्लेषण तथा आवश्यकताको आकलन गर्ने अर्को समिति बनाइएको छ । जुन समितिले खोप भण्डारण गर्न आवश्यक पूर्वाधार कस्तो हुन्छ र अहिले कति डिग्रीसम्मको खोप राख्न सकिन्छ भन्ने आकलन गर्नेछ । मन्त्रालयले स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीको संयोजकत्वमा यो समिति गठन गरिएको छ । खोप भित्रिएपछि कसलाई लगाउने भन्ने निर्धारण गर्नसमेत सेवाग्राहीको प्राथमिकीकरण गर्ने टोली उपचारात्मक महाशाखा निर्देशकको संयोजकत्वमा बनाइएको छ । त्यस्तै परिचालन योजनाको संयोजक डा. भीमसिंह तिंकरीलाई तोकिएको छ । मन्त्रालयका नीति योजना अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीलाई खोप कोष सञ्चालन समिति र सार्वजनिक सूचना प्रभाव संयोजक तोकिएको छ । अनुगमन नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन गर्न मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटालाई जिम्मेवारी दिइएको छ ।
सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कुनै
पनि योजना बनाएको छैन । कुल जनसंख्याको २८ प्रतिशत अर्थात् ८४ लाख १५ वर्षमुनिको बालबालिका
रहेको अनुमान छ । ‘पहिलो त उनीहरू कम जोखिममा हुन्छन् । अर्को पाटो भनेको १५ वर्षमुनिकालाई लगाउने भ्याक्सिन नै छैन,’ खोप व्यवस्थापन प्राविधिक कमिटीका संयोजक डा. उप्रेतीले भने, ‘अहिले ट्रायल भइरहेको खोप १५ वर्षमुनिकालाई प्रभावकारी
पनि छैन ।’ नेपालमा १० वर्षभन्दा मुनिका बालबालिका मात्रै ५ हजार ८ सय ८६ जना संक्रमित भइसकेका छन् । यो संख्या कुल संक्रमितको २.४६ प्रतिशत हुन्छ ।

बालबालिकाबाहेक ७२ प्रतिशत जनसंख्यालाई खोप व्यवस्थापन, भण्डारण र जनशक्ति व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनिसकेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । ‘बालबालिकाबाहेक अरूको प्राथमिकता निर्धारण भइसकेको छ,’ उनले भने ।
योजना कोरोनाविरुद्धको भ्याक्सिन भित्रिएपछि जोखिम क्षेत्रमा खटिने व्यक्तिलाई पहिलो चरणमा खोप लगाउने मन्त्रालयले प्राथमिकता निर्धारण गरेको छ ।
मुलुकलाई आवश्यक पर्ने खोप एकै पटक नआउने भएपछि पहिलो चरणमा जति खोप आउँछ त्यो स्वास्थ्य क्षेत्रमा खटिने व्यक्ति व्यक्ति, अत्यावश्यक सेवामा काम गर्दा दूरी कायमसमेत नगरी सेवामा खटिनुपर्ने व्यक्ति, सफाइ कर्मचारीलाई लगाइने योजना रहेको खोप व्यवस्थापन प्राविधिक कमिटीका संयोजक डा. श्यामराज उप्रेतीले बताए । ‘जसले अरूलाई सार्न सक्छ उसलाई पहिलो प्राथमिकतामा राखेका छौं,’ उनले भने,
‘यस्तो समूहमा सर्वसाधारणको उपचारमा प्रत्यक्ष संलग्न स्वतः पर्छन् ।’
डब्लूएचओ, गाभी र सेपी जस्ता संस्थाहरूको विश्वव्यापी कोलाब्रेसन ‘कोभ्याक्स’ मार्फत प्राप्त हुने २० प्रतिशत भ्याक्सिनमध्ये सुरुमा तीन प्रतिशत अर्थात् नौ लाख जनसंख्यालाई पुग्ने सरकारको अनुमान छ । ‘यसरी आएको भ्याक्सिन धनीले पाउने र गरिबले नपाउने, पहुँच भएकाले पाउने र नभएकाले नपाउने भन्ने हँॅुदैन,’ उनले भने । स्वास्थ्यकर्मी र अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले पाइसकेपछि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइने प्राथमिकता निर्धारण गरिएको छ । उनीहरूपछि भने ४० देखि ५४ का दीर्घरोगीलाई खोप दिने योजना मन्त्रालयले बनाएको छ ।
कोभ्याक्समार्फत आउने २० प्रतिशत खोपले ६० लाख जनसंख्यालाई पुग्ने सरकारको अनुमान छ । कोभ्याक्समार्फत आउने खोप अन्यको तुलनामा सस्तो पर्छ । कतिपय मुलुकलाई निःशुल्कसमेत उपलब्ध गराउने गरिन्छ । अनुदानमा प्राप्त खोप २० प्रतिशत अर्थात् ६० लाख जनसंख्यालाई र सरकारले ५२ प्रतिशत जनसंख्या अर्थात् १ करोड ५६ लाख जनाका लागि आवश्यक भ्याक्सिन खरिद गर्ने योजना बनाएको छ । अनुदानमा आउने भ्याक्सिनका लागि ६ अर्ब लाग्न सक्ने भनिए पनि थप सहुलियतमा पाए २ अर्ब मात्रै राज्यको खर्च हुने सरकारले आकलन गरेको छ । १ करोड ५६ लाख जनतालाई आवश्यक पर्ने भ्याक्सिनको भने कति बजेट आवश्यक पर्छ भन्ने यकिन नभएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले बताए । एउटा खोपको बढीमा १० डलर पर्न सक्ने आकलन गरेर खोपका लागि ४२ अर्ब बजेट खर्च हुन सक्ने पोखरेलले बताए । ‘अर्थ मन्त्रालयले यो बजेटको सुनिश्चितता गरिसकेको छ,’ उनले भने ।
कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन अहिले खोप सेवामा खटिने कर्मचारीलाई तालिम दिने सरकारको योजना छ । नयाँ जनशक्ति व्यवस्था गर्दा थप लगानी आवश्यक पर्ने भएकाले अन्य खोपमा खटिने कर्मचारीलाई नै परिचालन गर्ने योजना बनाएको हो । अहिले स्वास्थ्य चौकीमा रहेका जनशक्तिले वडा तहमा रहेका महिला स्वयंसेविकामार्फत खोप सेवा सुचारु छ ।

मुख्य पृष्ठ

सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

- सुदीप कैनी

(काठमाडौं) - सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन असन्तुष्ट सदस्यहरूले शुक्रबार सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले दिएका सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघदेखि गुपचुप राखेका थिए । आयोगका बहुमत १३ सदस्यले दरबार हाईस्कुलमा प्रतिवेदनको पुस्तक नै तयार गरेर सार्वजनिक गरेका हुन् । आयोगका सदस्यहरू श्याम श्रेष्ठ, विद्यानाथ कोइराला, सुजनबाबु मरहठ्ठा, विमलकुमार फुयाँल, रामस्वार्थ राय, कृष्णप्रसाद पौडेल, टंकनाथ शर्मा, चक्रमान विश्वकर्मा, सुशन आचार्य, बाबुराम थापा, लक्ष्मण शर्मा, सदानन्द कँडेल र मीनबहादुर विष्टले प्रतिवेदन सार्वजनिक गरेका
हुन् । २५ जनामध्ये आयोग अध्यक्ष तथा शिक्षामन्त्री पोखरेल, पूर्वशिक्षामन्त्रीसहित सरकारी पदमा रहेका तथा नियुक्ति पाएका र निजी विद्यालयतर्फका सदस्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन् ।
आयोगले २०७५ माघ १ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री ओलीले त्यतिबेला प्रतिवेदन अध्ययन गरेर सार्वजनिक गरिने बताएका थिए । निजी विद्यालयलाई गैरनाफामूलक बनाउनेलगायत सिफारिसका कारण सरकारले प्रतिवेदन सार्वजनिक नगरेको स्रोतको दाबी छ । आयोगका सदस्य तथा शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा सार्वजनिक बहस र छलफलमा समेत नल्याएकोमा असन्तुष्टि जनाए । सार्वजनिक शिक्षा सुधारका लागि प्रतिवेदनमाथि विचार विमर्श होस् भनेर ढिलै भए पनि आयोगका तर्फबाट सार्वजनिक गरिएको उनको भनाइ छ । सञ्चारमाध्यमले भने त्यतिबेला नै प्रतिवेदन सार्वजनिक गरिसकेका थिए । सरकारले प्रतिवेदन हुबहु कार्यान्वयन गर्न नसके पनि त्यसका सकारात्मक पक्षलाई शिक्षा नीति र ऐन नियममा समेटेर जानुपर्ने कोइरालाले बताए ।
आयोगका अर्का सदस्य श्याम श्रेष्ठले सरकारले प्रतिवेदन सार्वजनिक नगरेर यतिन्जेल
बेवारिस बनाएको बताए । ‘सरकारले नै आयोग बनाएर सुझाव देऊ भन्यो, दिनरात नभनी ६ महिनासम्म काम गर्‍यौं,’ उनले भने, ‘बालुवाटारमा बुझाएको प्रतिवेदन त्यहींबाट गायब पारियो ।’
मन्त्रिपरिषद्ले २०७५ असार ३२ गते २५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगमा शिक्षाविद् र शिक्षा मन्त्रालयका अधिकारीहरू सदस्य थिए । तीमध्ये १३ जनाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिकीकरण विज्ञप्ति जारी गरेर सरकारले प्रतिवेदन लुकाएकोमा खेद प्रकट गरेका छन् । ‘सार्वजनिक शिक्षा सुधार हुनुपर्छ भनेर प्रतिवेदन दिएका थियौं, सरकारले प्रतिवेदन दम्पच पारेर राख्यो, उल्टोपाल्टो बनाएर शिक्षा नीति जारी गरियो,’ श्रेष्ठले थपें, ‘सरकारले लुकाए पनि प्रतिवेदन सबैले अध्ययन गर्न पाउनुपर्छ, बहस छलफल
हुनुपर्छ भन्ने ठानेर पुस्तक बनाएर प्रकाशित गरेका हौं, पीडीएफ फाइलमा पनि बाँड्छौं ।’
शिक्षाका लागि राष्ट्रिय
अभियानले ५ सय प्रति पुस्तक छापेको जनाएको छ । अभियानका अध्यक्ष डिल्लीराम सुवेदीले सरकारले आफैंले तयार पारेको प्रतिवेदन लुकाएकाले पुस्तक बनाएर वितरण गर्न लागिएको जनाए । ‘सूचनाको हक प्रयोग गरेर शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदनको खोजी गर्‍यौं,’ उनले भने, ‘मन्त्रालय प्रधानमन्त्री कार्यालय देखाएर पन्छियो, प्रधानमन्त्री कार्यालयले बालुवाटारमा बुझाएको प्रतिवेदन प्रधानमन्त्री निवासमै होला भन्ने जवाफ दियो ।’ आयोगका अर्का सदस्य प्राध्यापक सुजनबाबु मरहठ्ठाले प्रारम्भिक बालविकासदेखि उच्च शिक्षामा राज्यले गर्नुपर्ने काम र लिनुपर्ने नीति समेटेर प्रतिवेदन दिएको बताए । शिक्षामन्त्री तथा आयोगका अध्यक्ष पोखरेलले प्रधानमन्त्री ओलीसँग सरसल्लाह गरेर सरकारले नै प्रतिवेदन सार्वजनिक
गर्ने आश्वासन दिएका कारण ढिला भएको असन्तुष्ट सदस्यहरूको
भनाइ छ ।

शिक्षाविद् केदारभक्त माथेमाले प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सार्वजनिक शिक्षा सुधारका लागि रूपान्तरणकारी सुझाव आएकाले सरकार डराएको हुन सक्ने जनाए । २०७५ को प्रतिवेदनमा २०७४ मा तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा गठित शिक्षा आयोगको प्रतिवेदनका सुझाव पनि समेटिएको थियो । शिक्षामन्त्रीसहित विज्ञहरू सम्मिलित आयोगले दिएका सुझाव सरकारले दस्ताबेजका रूपमा सुरक्षित र सार्वजनिक गर्नुपर्नेर् शिक्षाविद्हरूको तर्क छ । सुझाव कार्यान्वयन गर्न नसके पनि छलफलमा ल्याउनुपर्ने उनीहरूको माग छ ।
सरकारले विज्ञहरूको सुझाव लुकाएर २०७६ मा शिक्षा नीति जारी गरिसकेको छ । प्रस्तावित संघीय शिक्षा विधेयकको मस्यौदा पनि तयार भइरहेको छ । सुझावलाई तोडमोड गरेर नीति जारी गरिएको आयोगका सदस्यहरू बताउँछन् । नीति र संघीय ऐनमा आयोगका सुझावहरू समेट्ने दबाबबाट जोगिन प्रतिवेदन गोप्य राखिएको उनीहरूको तर्क छ । प्रतिवेदनमा निजी लगानीमा सञ्चालित विद्यालयलाई एक दशकभित्र सेवामूलक बनाउन सुझाव दिइएको छ । उक्त सुझावप्रति निजी विद्यालय सञ्चालकहरू असन्तुष्ट बनेका थिए । स्रोतका अनुसार आयोगको सुझावमा यस्तो व्यवस्था गर्न भनिएपछि सरकारका मन्त्रीहरू र सत्तारूढ नेकपाभित्रै विवाद भएको थियो । नीतिमा निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने व्यवस्था हटाइएको छ । मुख्यतः निजी विद्यालय सञ्चालकहरू हिसान, प्याब्सन र एनप्याब्सनको दबाबमा सरकारले प्रतिवेदन गुपचुप राखेको आयोगका सदस्यहरू बताउँछन् ।

प्रतिवेदनमा के छ ?
निजी शिक्षण संस्थालाई सेवामुखी बनाउँदै निजी गुठी र सहकारीमा सञ्चालित विद्यालयलाई पनि एउटै ढाँचामा ल्याउन प्रतिवेदनले जोड दिएको छ । संघीय, प्रादेशिक र स्थानीय सरकारको शिक्षाको भूमिका छुट्याइएको छ । शिक्षा क्षेत्रमा कम्तीमा २० देखि २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने सुझाव छ । हाल सरकारले करिब १० प्रतिशत बजेट मात्रै छुट्याउँदै आएको छ ।
शिक्षक अभाव हल गर्न दरबन्दी मिलाउन सिफारिस गरिएको छ । शिक्षकलाई सेवा प्रवेश गर्न न्यूनतम योग्यता वृद्धि गर्न सुझाव दिइएको छ । सबैलाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा पनि प्रतिवेदनमा जोड दिइएको छ । सन् २०३० सम्म माध्यमिक शिक्षालाई अनिवार्य गराउनुपर्ने र कुनै पनि शुल्क लिन नपाउने व्यवस्था सुझाइएको छ ।
प्रतिवेदनमा विश्वविद्यालय सञ्चालन स्वायत्तता दलीय राजनीतिबाट मुक्त बनाउने, सम्बन्धन र नियमनको मापदण्ड प्रभावकारी हुनुपर्ने उल्लेख छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको अवसर वृद्धिमा जोड गरिएको छ । ‘कक्षा ९ देखि नै साधारण र प्राविधिक धारको व्यवस्था हुनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । सरकारलाई कोषबाट तलब सुविधा लिने हरेक व्यक्तिले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा नै पढाउनुपर्ने कानुनी व्यवस्था गर्न सिफारिस गरिएको आयोगका सदस्यहरूले बताए । विद्यालय, उच्च र प्राविधिक शिक्षाको छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने औंल्याएको छ ।
विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउन जोड दिँदै साझा सेवा आयोग बनाउन पनि आग्रह गरिएको छ । विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने पद्धति अन्त्य गरी बोर्ड अफ ट्रस्टीबाट सञ्चालन गर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ । खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गर्नुपर्ने, शिक्षक अध्ययन अनुमतिपत्र ५/५ वर्षमा नवीकरण गर्नुपर्ने, ५ वर्षभित्र सबै विद्यालयमा विषयगत शिक्षक व्यवस्था गरिसक्नुपर्ने सुझाव दिइएको छ । शिक्षक सेवा आयोगको सिफारिसमा मात्र प्रधानाध्यापक नियुक्ति गर्नेलगायतका सिफारिस पनि प्रतिवेदनमा गरिएको छ ।

 

Page 2
समाचार

ओली–दाहालका अडान यथावत्

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका
आ–आफ्नो अडानका कारण आरोप–प्रत्यारोपको दस्ताबेज सचिवालयमै टुंगो लगाएर स्थायी कमिटी बैठकमा जाने प्रयास असफल भएको छ ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण गत १७ गते स्थगित भएको सचिवालय बैठक शनिबारका लागि निर्धारण गरिएको छ । ओली पक्षधरले बैठक केही समय रोकेर अध्यक्षद्वयकै बीचमा थप संवाद गर्नुपर्ने मत राखिरहेकाले शनिबारको बैठक बस्ने/नबस्ने निश्चित छैन । यद्यपि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने सचिवालयमा छलफलका लागि आएका सबै दस्ताबेजलाई स्थायी कमिटीमा लगेर टुंगो लगाउनुपर्ने पक्षमा छन् । उनले शुक्रबार आफूलाई भेट्न आएका नेताहरूलाई पनि यही जानकारी गराएका छन् । अध्यक्ष दाहाललाई भेट्न पुगेका सचिवालय सदस्य ईश्वर पोखरेलले बैठक केही दिन रोकेर साझा प्रस्तावका लागि छलफल अघि बढाउन सुझाव दिएका थिए तर दाहालले प्रस्तावहरूका विषय कमिटीले नै टुंगो लगाउने आफ्नो पूर्ववर्ती अडान यथावत् रहेको बताएका थिए । दुवै पक्षको अडान यथावत् हुँदा नेकपाको विवाद साम्य हुँदै जान्छ या झन् चर्किन्छ भन्नेमा नेतृत्व पंक्ति नै अलमलमा छ ।
वरिष्ठ नेता झलनाथ खनालले नेताहरूका बीचमा थप संवाद नभएकाले सहमतिको सम्भावना नरहेको बताए । उनले केही स्थायी कमिटी सदस्यहरूबाट साझा प्रस्ताव बनाउन सुझाव आएको भए पनि त्यो सम्भावना टर्दै गएको बताए । दुई पक्षबीच संवाद गर्न र सहमतिको मिलनबिन्दु खोज्न भन्दै तीन दिन बैठक स्थगित हुँदा दुवै पक्ष आआफ्नै गुट केन्द्रित छलफलमा व्यस्त भए । यसबीचमा बिहीबार दाहाललाई भेट्न पुगेका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सचिवालय सदस्य ईश्वर पोखरेल र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संवादका लागि अझै केही दिन समय लिएर मात्रै बैठक गर्न गरेको आग्रह दाहालले अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भने शुक्रबार दिनभर उनीनिकट नेताहरूको छलफल चलेको थियो । छलफलमा शनिबार अन्तिम समयसम्म पनि बैठक रोक्न प्रयास गर्ने विषयमा कुराकानी भएको ओलीनिकट एक नेताले बताए ।
दाहाल–नेपाल पक्षधर विद्यार्थीको छुट्टै भेला
शीर्ष नेताहरूमा स्पष्ट कित्ताकाट भइरहेका बेला अनेरास्ववियुको दाहाल–नेपाल पक्षका विद्यार्थीको भेला थापाथली इन्जिनियरिङ क्याम्पसमा भएको छ । भेलामा स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य र पम्फा भुसालसमेत सहभागी थिए । उनीहरूले पार्टी एकता जोगाउन ओलीले पार्टी कमिटीको निर्णय मान्नुपर्ने तर्क राखे ।
अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले पार्टीभित्र विधि, पद्धतिको कुरा चलिरहेका बेला संयोजक ऐन महरलगायतको टिमले छुट्टै भेला गर्दै हिँडेकाले क्रियाको प्रतिक्रियास्वरूप भेला गरेको बताए । ‘पार्टीमा एकताको बहस चलिरहेका बेला फुटको पक्षमा गुटगत भेला देशैभरि भइरहेको छ, अन्तरसंघर्षका बेला एकता कायम राख्न छोडेर संयोजकसहितको टोली एकतर्फी देश दौडाहामा निस्किएको छ,’ तामाङले कान्तिपुरसँग भने, ‘पार्टी एकतालाई बचाउनुको सट्टा साथीहरू गुटगत भेलामा लागेको हुनाले अनेरास्ववियुलाई मण्डले विद्यार्थी नबनाउनका लागि एकता र विधि पद्धतिको पक्षमा उभ्याउनुपर्छ भनेर हामीले भेला गरेका हौं ।’ उनले अर्को पक्षले जहाँजहाँ भेला गर्दै जान्छ, आफूहरूको कार्यक्रम पनि त्यही त्यही ठाउँमा केन्द्रित हुने बताए । नेताहरू एकअर्काविरुद्ध आक्रामक रूपमा उत्रिएपछि जनवर्गीय संगठनहरूले समेत आ–आफ्नो गुटका पक्षमा पैरवी गर्न थालेका हुन् ।

समाचार

संसदीय समितिले माग्यो कूटनीतिक भ्रमणमा कोटा

- जगदीश्वर पाण्डे,जयसिंह महरा

(काठमाडौं) - ससद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्र मन्त्रालयले आयोजना गर्ने द्विपक्षीय वा बहुपक्षीय उच्चस्तरीय भ्रमण र सम्बन्धित विविध कार्यक्रममा आफ्नो प्रतिनिधित्व हुने गरी सहभागिता गराउन सरकारलाई सुझाव दिने निर्णय
गरेको छ ।
समितिले शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमेत उपस्थित रहेको बैठकपछि निर्णय गर्दै समितिले उक्त सुझाव दिने निर्णय गरेको हो । समितिले सरकारलाई भ्रमणका बेला आफ्ना सदस्यहरूसमेत सामेल गर्न दिएको प्रस्तावले व्यवस्थापिकाको काममाथि प्रश्न उठ्ने देखिएको छ । संसद्का पूर्वसचिव सोमबहादुर थापाले अन्तर्राष्ट्रिय समितिको उक्त निर्णय गलत भएको बताए । ‘संसद्ले अनुगमन गर्ने हो, द्विपक्षीय वा बहुपक्षीय उच्चस्तरीय भ्रमणमा कार्यकारीले सहभागिता जनाउने हो, कार्यकारीसँग सामेल भएर सांसदहरू घुम्न जाने होइन,’ उनले भने ।
उनका अनुसार कार्यकारीले गरेको गल्तीलाई सांसदहरूले औंल्याउनुपर्छ, कुनै भ्रमणमा कार्यकारी गएपछि त्यसको प्रतिवेदन संसद्लाई पठाउनुपर्छ, त्यसलाई संसद्ले हेरेर आवश्यकताअनुसार कार्यकारीलाई बोलाएर सुझाव वा निर्देशन दिन सक्छ । ‘कार्यकारीसँगै घुम्न गएपछि संसद् र सांसदहरूले भनेको कार्यकारीले सुन्दैन,’ उनले भने, ‘तिम्रो प्रतिनिधि हामीसँग थियो भनेर कार्यकारीले संसद्मा रिपोर्टिङ पनि गर्दैन । संसद्को गहनता घट्छ ।’
पूर्वसचिव थापाले संसद्ले आवश्यक परे सांसदलाई अध्ययन तथा अनुसन्धान गर्न विभिन्न मुलुकमा घुम्न जान छुट्टै बजेट छुट्याउन सक्ने बताए । ‘संसद्का कर्मचारीले समेत कार्यकारीतर्फका कर्मचारीसँग मिलेर काम गर्न मन नपराउने स्थितिमा संसदीय समितिबाट यस्तो निर्णय हुनु ठीक होइन,’ उनले भने । समिति सभापति पवित्रा निरौला खरेलले आफ्नो समितिले मन्त्रालयले आयोजना गर्ने द्विपक्षीय वा बहुपक्षीय उच्चस्तरीय भ्रमण र सम्बन्धित विविध कार्यक्रममा आफ्ना प्रतिनिधित्व हुने गरी सहभागिता गराउन सरकारलाई सुझाव दिएको प्रस्ट पारिन् । खरेलले भनिन्, ‘हामीले सरकारलाई द्विपक्षीय वार्तामा राख्न भनेर सुझाव दिने निर्णय गरेका छैनौं तर विभिन्न भ्रमणमा आवश्यकताअनुसार मिलेसम्म सामेल गर भनेका हौं ।’ उनले आफ्नो समितिमा विभिन्न मुलुकलाई हेर्ने सांसद रहेको र सम्बन्धित मुलुकमा सरकारका तर्फबाट भ्रमण
हुँदा आफ्ना सम्बन्धित सांसदलाई सामेल गर्दा उचित हुने दाबी गरिन् ।
ईपीजीको अवस्थाबारे संसद् अनभिज्ञ
अन्तर्राष्ट्रिय सम्बन्ध समिति नेपाल र भारतबीच गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनका विषयमा अनभिज्ञ देखिएको छ । परराष्ट्र मन्त्रालय र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा सरकारले गरेको गतिविधिलाई हेर्ने जिम्मेवारी रहेको समितिको शुक्रबारको बैठकपछि भएको निर्णयमा ‘ईपीजी प्रतिवेदन नेपाल सरकारले ग्रहण गरिसकेको र भारत सरकारलाई ग्रहण गर्ने वातावरण मिलाउन यथाशीघ्र कूटनीतिक पहल गर्ने’ भनिएको छ ।
ईपीजीको प्रतिवेदन २०७५ सालमा तयार भए पनि भारतको अनिच्छाका कारण नेपाल र भारत दुवैले प्रतिवेदन बुझेका छैनन् । प्रतिवेदन तयार भएपछि दुवै मुलुकका ईपीजीका सदस्यहरूले पहिला भारतका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति गरेका थिए तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ईपीजीका प्रतिवेदनलाई बुझेका छैनन् । तर पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूसमेत सामेल समितिले शुक्रबार नेपाल सरकारले ईपीजीको प्रतिवेदनलाई ग्रहण गरिसकेको उल्लेख गरेको छ । समितिकी सभापति खरेल भने ईपीजीको प्रतिवेदन नेपाल सरकारले ग्रहण गरिसकेको भन्ने कुरा बाहिर सुनेकाले आफूहरूले निर्णयमा उल्लेख गरेको प्रतिक्रिया दिइन् ।
लिम्पियाधुरामा हकभोग कायम गर्न सुझाव
समितिले सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा भइरहेको अतिक्रमण रोकी ती क्षेत्रमा नेपालको हकभोग कायम गर्ने सुझाव दिने निर्णय गरेको छ । भारतले नेपालको भूभाग समेटेर गत वर्ष कात्तिकमा नक्सा जारी गरेपछि नेपालले पनि गत जेठमा लिम्पियाधुरासम्मै समेटेर नयाँ नक्सा जारी गरेको थियो । कालापानी र लिम्पियाधुरा अहिलेसम्म भारतले नै भोगचलन गरिरहेको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले भारतसँगका विवाद वार्ताबाट समाधान गर्ने बाटोमा अगाडि बढेको बताएका छन् । समितिमा बोल्दै ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताए । मन्त्री ज्ञवालीले अब नेपाल–भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुने बताए । उनले आगामी दिनमा हुने विभिन्न चरणका बैठकमा व्यापार, वाणिज्य, जलस्रोतका साथै सीमा विवादमा पनि स्पष्ट छलफल हुने बाटो खुलेको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए ।
‘नेपाल–भारतबीच नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको छ,’ उनले भने, ‘सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन् । नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको छ । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको छ ।’
भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग शिष्टाचार भेट गरेको र नेपाल भ्रमणका क्रममा सबै विषयमा छलफल गरेको ज्ञवालीले बताए । ‘नेपाल–भारत सम्बन्ध समस्यालाई वार्ताबाट समाधान गर्ने र सम्बन्धलाई सुदृढ गर्ने बाटोमा अगाडि बढेको छ,’ उनले भने । त्यस्तै, चीनका रक्षामन्त्री वेई फेङ्हेको भ्रमण नियमित भएको मन्त्री ज्ञवालीले बताए । दुवै देशका सेनाबीचको सहकार्यलगायत विषयमा छलफल भएको उनले जानकारी दिए । चिनियाँ रक्षामन्त्रीको भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सन्धि र लेटर अफ एक्सचेन्जको कार्यान्वयनबारे छलफल भएको ज्ञवालीले बताए ।
दुवै छिमेकी मुलुकबाट भएका पछिल्ला भ्रमणले कोभिडले रोकेका अन्तर्राष्ट्रिय उच्चस्तरीय भ्रमण फेरि सुरु भएका र आगामी दिनमा पनि त्यसले निरन्तरता दिने ज्ञवालीको भनाइ छ । ज्ञवालीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेटेको र भारतीय सेनाध्यक्ष एमएम नरवणेको भ्रमणबारे भने केही कुरा उल्लेख गरेनन् । सांसदहरूले भने ती भ्रमणबारे पनि सरकारको धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

समाचार

मंसिर २९ मा कांग्रेसको प्रदर्शन

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको अनौपचारिक बैठकले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विरोधमा एक दिन प्रदर्शनको निर्णय गरेको हो ।
सहमहामन्त्री प्रकाशरण महतले सरकारका अलोकतान्त्रिक कदम, सर्वसत्तावादी प्रवृत्ति, अनियमितता, कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको गैरजिम्मेवारीपनलगायतका मुद्दा समेत उठाउँदै विरोध प्रदर्शन गर्न लागिएको बताए । यिनै मुद्दा उठाउन कांग्रेसले तत्काल संसद् अधिवेशनको मागसमेत गरेको छ । बैठकले संसद्का पदाधिकारी र विपक्षी दललाई सुइँकोसमेत नदिई गत असार १८ गते हठात् अन्त्य गरिएको संसद् अधिवेशन ६ महिना पुग्न लाग्दा समेत नबोलाइएकामा असन्तुष्टि जनाएको छ । संवैधानिक प्रावधानअनुसार संसद् अधिवेशन अन्त्य भएको मितिले ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्छ । आगामी पुस १७ भित्र अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता भएपछि कांग्रेसले समावेदनम प्रक्रिया अघि नबढाउने भएको छ । नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली विपक्षी विचारधारालाई निषेध गर्दै एकदलीय कम्युनिस्ट शासनसत्ताको अभ्यासमा अघि बढेको निष्कर्ष बैठकले निकालेको बताए ।

समाचार

प्रहरी जवानलाई १० वर्षपछि न्याय

- कृष्ण ज्ञवाली

(काठमाडौं) - तिहारका बेला पटाकासहित पक्राउ परेका व्यक्तिलाई छाड्न खोज्ने हाकिमको विरोध गरेबापत बर्खास्तीमा परेका प्रहरी जवानलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ । एउटा विषयमा स्पष्टीकरण सोधेर अर्कै कसुरमा सजाय गर्न खोजेको भन्दै सर्वोच्चले ती जवानलाई पदबाट हटाउने निर्णय बदर गरेको हो ।
प्रहरी जवान जयबहादुर पाइजा २०६६ असोज ३१ गते भैरहवा विमानस्थलमा ड्युटीमा खटिएका थिए । तिहारका बेला पटाका ओसारपसार हुन सक्ने सूचनाका आधारमा उनले निगरानी बढाएका थिए । त्यस्तैमा एक जना विमानबाट पटाका लैजान लागिरहेको अवस्थामा भेटिए र पाइजाले नियन्त्रणमा लिई सोधखोज गरे । त्यही बेला उनलाई नेतृत्व गर्ने असई छवबहादुर घर्तीले ती व्यक्तिलाई छाड्न आदेश दिए । दुवैबीच विवाद बढेपछि लछारपछार भयो । भोलिपल्ट नै रूपन्देहीका तत्कालीन एसपी प्रकाश अर्यालले पाइजालाई स्पष्टीकरण सोधे । चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै एसपी अर्यालले उनलाई २०६६ कात्तिक २२ गतेदेखि लागू हुने गरी जागिरबाट हटाउने निर्णयको पर्चा खडा गरे । उक्त निर्णयविरुद्ध पाइजा क्षेत्रीय प्रहरी कार्यालय पोखरा गए । तर सुनुवाइ भएन, पोखराका डीआईजीले समेत प्रहरी कार्यालय रूपन्देहीको निर्णय सदर गरे । आफूभन्दा माथिल्लो कमान्डरसँग अभद्र व्यवहार गरेको भनी प्रहरी नियमावलीअनुसार गरेको निर्णय सदर भएको पाइजाले जवाफ पाए ।
बरामद विस्फोटक पदार्थ नछाडेको विषयमा असई घर्तीले ड्युटीमै रहेका बेला कठालोमा समातेर अफिसमा लगी गालीगलौज तथा कुटपिट गरेको भन्दै पाइजाले बरु असईबाटै प्रहरी आचारणविरुद्ध घुसखोरी र अपराधीलाई बचाउने काम भएको दाबी गरेका थिए । आफूलाई सेवाबाट हटाउनेसम्मको उचित र पर्याप्त कारणसमेत नखुलाएको भन्दै उनले कानुनी उपचार खोज्ने निधो गरे ।
पाइजालाई प्रहरी नियमावलीको नियम ८८ (क) अनुसार जिम्मेवारीअनुसार आचरण नगरेको भन्ने खुलाई स्पष्टीकरण सोधिएको थियो । तर विभागीय कारबाही गरी बर्खास्त गर्दा नियम ग, ङ, च, ज–मा भएको कसुरको व्यहोरासमेत थपिएको थियो । पाइजालाई कारबाही गर्दा बारम्बार अनुशासनहीनको काम गरेको, उर्दीको पोसाक लगाई मादक पदार्थ सेवन गरी हिँडेमा वा जथाभावी गरेको कसुरमा आकर्षित हुने कानुनी दफा लगाइएको थियो ।
सर्वोच्चले पाइजालाई पदबाट बर्खास्त गर्दा सामान्य प्राकृतिक न्यायको सिद्धान्तको पनि पालना नभएको फैसला गरेको छ । ‘जे जुन कसुर गरेको वा जुन कानुन प्रावधानको बर्खिलापमा काम गरेको हो, सोही व्यहोरा खुलाई सफाइको मौका दिएर मात्रै त्यसबारे कारबाही गर्नुपर्छ भन्ने प्राकृतिक न्यायको सिद्धान्त छ,’ २०७६ पुस २० गते फैसला भएर हालै सार्वजनिक भएको पूर्णपाठमा भनिएको छ, ‘एउटा कसुरको आरोपमा स्पष्टीकरण सोध्ने अनि सेवाबाट हटाउँदा अर्कै नियम उल्लंघ भएको आरोपसमेत समावेश गर्न मिल्दैन ।’

 

Page 3
कुराकानी

'के सँगै बस्न नचाहेको हो ?’

- कान्तिपुर संवाददाता


नेकपाभित्र धेरै संकट देखिएको छ । खासमा यो बहस हो कि विवाद ?
यो बहस हो । बहस यस अर्थमा कि, हामीले समाजवादउन्मुख राज्य व्यवस्थाको कुरा गरेका छौं । त्यतातिर बढ्न के हामी सही ठाउँमा छौं ? या समाजवादउन्मुख राज्य व्यवस्था सञ्चालन गर्न योग्य पार्टी बनाइरहेका छौं । त्यस प्रकारको पार्टी र सरकारको अन्तरसम्बन्ध ठीकै ढंगले चलेको छ ? कम्युनिस्ट पार्टीका नेताहरूबीच हुने सम्बन्ध कस्तो हुन्छ ? सरकार, पार्टी र जनताबीच रहने नेताहरूको सम्बन्ध कस्तो हुन्छ ? विचार विधि र राजनीतिक विषयमा नै मुख्य रूपमा छलफल चलिरहेको छ । हामी फरक पृष्ठभूमिबाट पनि आएकाले केही आ–आफ्ना मनोविज्ञान छन् । त्यसको व्यवस्थापनको कुरा एकैसाथ आएर अहिले बहस भएको छ । यसलाई हामीले विवाद, झगडा, खिचातानीभन्दा पनि एउटा बहसका रूपमा बुझ्दा समाधानका लागि सजिलो हुन्छ ।

पहिले कम्युनिस्ट पार्टीमा यस्ता बहस, विवाद हुँदा धेरैजसो सैद्धान्तिक कुरा हुन्थे, अहिले दुई अध्यक्षका प्रस्तावमा व्यक्तिगत गालीगलौज छ । यसलाई कसरी बहस भन्न सकिन्छ र ?
खासगरी सुरुमा पार्टी जीवनलाई एकदम सरल, सहज ढंगले नियमित प्रक्रियामा लानुपर्थ्यो । त्यसका लागि हामीले सचिवालय व्यवस्था गरेका छौं । जसले संक्रमणकालमा पार्टीको नेतृत्व गर्छ भनेर विश्वास गर्छौं । जसको हरेक दिन बैठक बस्छ र इस्यु हेरिकन साता, पन्ध्र दिनमा हुन सक्छ भन्ने हो । विधान मस्यौदा गर्ने सदस्य म पनि थिएँ । त्यतिखेर हामीले स्थायी कमिटीलाई नै सर्वोच्च निकाय बनाएका थियौं । तर यो संक्रमणकालमा फरक पृष्ठभूमिबाट आएको पार्टीलाई महाधिवेशनसम्म पुर्‍याउन सानो टिमले काम गर्नुपर्छ भनेर त्यो व्यवस्था गरेका हौं । नियमित बैठक, ब्रिफिङ र सल्लाह गरेर गएको भए सहज हुन्थ्यो । सुरुमा दुई नेताले सबै काम गर्नुभयो । दुई जना नै नौ जनाजस्तो हुनुभयो । अलिअलि मतभेद भएपछि पहिलो अध्यक्ष अलि बढी एक्लै गर्न लाग्नुभयो । पछि अप्ठ्यारो भएपछि दुइटै अध्यक्षले नौ जनामा साथीहरू खोज्न लाग्नुभयो । त्यसो गर्दा सुरुमा अलिकति कमजोरी भयो । माधव नेपाल कमरेडले विभिन्न विषयमा नोट अफ डिसेन्ट लेख्दा पनि उहाँलाई समेट्ने कोसिस गरिएन । अनि एउटा मनोविज्ञान बन्यो । दुई अध्यक्ष मिल्दा नौ जना नखोज्ने, नमिल्दाखेरि कहिले ५/४, कहिले ६/३ गर्ने अवस्था बन्यो । त्यहाँदेखि बिग्रेको हो । भदौ २६ मा आएर सबै कुरा सच्याउने भनिएको थियो । पार्टी चलाउनेले पनि सरकार चलाउनेलाई विश्वासमा लिने, सरकार चलाउनेलाई पार्टी चलाउनेको विश्वास गर्ने गरी सँगसँगै जानुपर्छ भन्यौं । तर सरकार पुनर्गठन, राजदूत नियुक्तिलगायतमा र सरसल्लाहमा ग्याप हुनेबित्तिकै भर्खरै अलिअलि प्लास्टर गरिएको जस्तो एकता उप्किहाल्यो । त्यसपछि उप्काउँदै–उप्काउँदै जाँदा खाल्डोजस्तो देखिएको छ । त्यसलाई हामीले पुर्नुपर्छ, सकारात्मक रूपले नै प्रयत्न गर्नुपर्छ ।

डकुमेन्टका भाषा हेर्दा त सैद्धान्तिकभन्दा पनि पद र जिम्मेवारीका कारण झगडा भएजस्तो देखिन्छ नि ?
विगतमा पदको झगडाजस्तो देखिएको थियो, बेलाबेला । आलोपालोको कुरा मिलायौं । अध्यक्षहरूको जिम्मेवारीलाई ठोस गरौं, नौ र स्थायी कमिटीका नेताहरूको जिम्मेवारी व्यवस्थित गरौं भन्दा त्यस्तो देखिन्थ्यो । यसपालिचाहिँ स्थायी कमिटीले निर्णय गरिसकेपछि त्यो किन कार्यान्वयन भएन भन्नेबाटै बहस भएको छ । त्यसैले यो विचारमै फरक भएको हो । सोच्ने र काम गर्ने तरिकामा फरक हुँदै गएको भन्ने नै छ । हिजो हामी मार्क्सवाद, लेनिनवाद, माओवाद मान्थ्यौं । तत्कालीन एमालेले जनताको बहुदलीय जनवाद मान्थ्यो । दुइटैलाई थाती राखेर महाधिवेशनमा बहस गर्ने र मार्क्सवाद लेनिनवादलाई निर्देशक सिद्धान्त मान्ने भनेका थियौं । तर यो बीचमै ल अब हामी बहुदलीय जनवादमा फर्किन्छौं भन्नेजस्तो कुरा पनि उठेको छ । त्यसैगरी हामी कार्यशैलीमा र विधि पद्धतिमा जाँदा के साँच्चिकै बेलायती मोडेलमा मात्रै छौं ? वा इन्डियाको जस्तो संसदीय मोडेलमा छौं ? वा हामी दुई पार्टी मिलेर एक भएको संक्रमणकालमा छौं ? विचार, राजनीतिक पद्धति र कार्यशैलीको प्रश्न नै मूल हो । तर बाहिर थुप्रै कुरा आएका छन्, नेतृत्व तह त्यो रूपमा नगए हुन्थ्यो । अलि शिष्ट र सौम्य ढंगले प्रस्तुत भए हुन्छ भन्ने हाम्रो पनि आकांक्षा हो । किनभने भावी पुस्तालाई एजुकेट गर्ने कुरा पनि हो । नेकपा बनेको त दुई–अढाई वर्ष भयो । १४/१५ वर्ष पुरानो गिरिजाप्रसाद कोइरालादेखि कम्युनिस्ट पार्टीको गठबन्धन बन्नुभन्दा अघिदेखिका प्रसंग आउनुले के हामी सँगै बस्न नचाहेको हो, अहिले यो बहस भनेको देखाउने मात्रै हो र हामीले खासमा अर्को कुनै गन्तव्य बनाइसक्यौं, अर्को कुनै निष्कर्ष निकालिसक्यौं, त्यहाँ हामी जान्छौं र जानका लागि कस्तो वातावरण बन्छ भन्नेजस्तो देखिन्छ । बाहिर एकाध साथीहरूको बहस सुन्दा पनि प्रधानमन्त्रीका केही सल्लाहकारले त मेरो नामै लिएर किताब बाँड्दै हिँड्छ, छाप्दै हिँड्छ, त्यस्तो मान्छेले दोस्रो पुस्ताको नेतृत्व गर्छ भनेको सुन्छु । हामी सक्छौं नि, सकेर आएकै हो । अर्थमन्त्री चलाएको हो, अहिले ऊर्जामन्त्री चलाइरहेको छु, शान्तिमन्त्री चलाएकै हो । त्यत्रो युद्ध, गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका लागि लडेकै हो, त्यसै कसैले टिपेर ल्याएको होइन । साथीभाइले नामै लिएर अपमान गर्ने ढंगले बोलेको सुन्दा लाग्छ, साथीहरू के सँगै बस्न नचाहेको हो ? अब सकिँदैन भन्ने निष्कर्षमा हो ? तर इतिहासको आवश्यकताले पार्टी एकता भएको हो । दुवै पार्टीले बहुमत शासन, अल्पमतको प्रतिपक्ष, सामाजिक न्यायिकसम्मका कुरा स्वीकार गरिसकेपछि, नेपालमा सामन्तवादविरुद्धको जनवादी क्रान्ति पूरा भयो र अब विकास समृद्धि सुशासनको युगमा प्रवेश गरिसक्यौं भनेर एउटै राजनीतिक वैचारिक ग्राउन्डमा पुगेपछि हामी एक ठाउँमा आएका हौं । तर प्रधानमन्त्रीकै सल्लाहकारहरूले आधा सिट मात्रै आउँछ, अब हारिन्छ, प्रचण्ड आफैं पनि हार्ने भइसकेपछि यहाँ एकता गरेको हो, प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट सक्सेस हुँदैन, एमालेलाई गुटमुटाउँछु भनेर आएको भनेर एकदम गम्भीर प्रकारको आक्षेप आउँदा के त्यस्तो पनि तर्क गर्न सकिन्छ भन्ने त लागेको छ । तत्कालीन माओवादीको स्थानीय तहमा १६ लाख भोट थियो । तत्कालीन एमाले र कांग्रेसबीच एक सिटको मात्रै फरक छ आजको मितिमा पनि । त्यो १६ लाख स्थानीय तहको मत र पछि समानुपातिकमा १३ लाख प्लस छ किनभने त्यहाँ समानुपातिकमा उम्मेदवारी नै छैन । स्वाभाविक दुई–तीन लाख त तलमाथि हुन्छ । त्यसो त तत्कालीन एमालेमा पनि घटेको छ, माओवादीमा पनि घटेको स्विकारेका छौं । एउटा मात्रै उदाहरण दिन्छु, तत्कालीन एमालेको असाध्यै राम्रो भनेर तेह्रथुममा संघ र दुवै प्रदेशमा तत्कालीन एमालेको उम्मेदवारी स्वीकार गरिएको थियो । त्यहाँ तीनै सिटमा माओवादीको ६ हजार प्लस भोट छ, तिनै सिटमा निर्णायक भोट छ । माओवादीको भोटले गर्दा ६ प्रदेशमा बहुमत छ, माओवादी थिएन भने एउटामा पनि आउँदैनथ्यो । संघमा एक सिट समानुपातिक फरक छ भने कांग्रेस एक–दुई सिट माथि हुन्थ्यो कि तत्कालीन एमाले एक दुई सिट माथि हुन्थ्यो । सबै ठाउँमा माओवादीको समानुपातिक भोट हेर्दा पनि देखिन्छ । तर यस्तो ठूलो अहंकार ? कसरी एउटै पार्टीमा बस्न सकिन्छ त नि ? एउटै पार्टीमा बस्ने खालको व्यवहार हो त ? त्यो पनि प्रधानमन्त्रीकै सल्लाहकारबाट । प्रधानमन्त्रीलाई त्यस्ताले सल्लाह दिएपछि सरकार कसरी चल्दो होलाजस्तो लाग्छ कहिलेकाहीँ । कसरी पार्टी चल्छ, कसरी नेताहरूको सम्बन्ध सुमधुर हुन्छ जस्तो लाग्छ । जो नेताको सबैभन्दा नजिक बस्छ, उसले त गम्भीरतापूर्वक संयमपूर्वक व्यवहार गर्नुपर्ने हो । रिसै उठे पनि झोंकै चले पनि मिल्नुस् है बिस्तारै गर्नुस् है, पख्नुस् जनताले यसो भन्छन् भन्नुपर्ने ठाउँमा प्रभोक गर्दै, सचिवालयमै बसेको मान्छेले अर्को अध्यक्षलाई तथानाम भन्दै हिँड्न मिल्छ ? प्रचण्ड–माधव नेपालको सचिवालयले त्यस्तै गरे के हुन्छ ? यो निकै गम्भीर विषय हो ।

सल्लाहकार त निमित्त न हुन् । प्रधानमन्त्रीको डकुमेन्टमै १३ र ३० लाख भोटको कुरा आयो । प्रधानमन्त्रीको मनस्थितिअनुसार उनीहरू चलेका होलान् नि ?
सल्लाहकारले प्रधानमन्त्री या नेताहरूलाई बिगारे भन्ने बहस एकपटक नेपाली कांग्रेसमा चलेको थियो । केहीले होइन, प्रधानमन्त्रीले राम्रै चाहनुभएको छ, सल्लाहकारहरूले बिगारे भन्ने गम्भीर र सशक्त मत थियो अर्कोतिर यस्ता प्रवृत्तिका सल्लाहकारले दिनदिनै प्रभोक गरेपछि मान्छे न हो, प्रभाव परिहाल्छ भन्ने बहस थियो । त्यसमा एक जना विद्वान् लेखकले अमेरिकाको उदाहरण दिएका छन् । तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन हलिउडबाट आएर जिते र जसले उदारवादको राजनीतिलाई सशक्त रूपले अगाडि ल्याए । उनी राजनीतिक रूपले त्यति सार्प होइनन् तर उनको क्याबिनेट यस्तो सशक्त थियो कि कहिलेकाहीँ उनी क्याबिनेटमा निदाउँथे रे । सुतिबस्दा पनि अमेरिकामा असाध्यै राम्रो सुधार भयो । त्यसैले टिम महत्त्वपूर्ण र निर्णायक हुन्छ । फेरि अर्कोतिरबाट हेर्दा, टिम त नेताले बनाउँछ । त्यसैले नेता फस्ट हो, त्यसपछि असाध्यै सशक्त टिम हो भनिन्छ । नेताले आफ्नो सोचअनुसार मोटामोटी सल्लाहकार टिम बनाउँछ । विभिन्न प्रवृत्तिलाई समेट्दा कहिलेकाहीँ क्याबिनेट सशक्त नहुन पनि सक्छ । सल्लाहकार त सम्बन्धित व्यक्तिले चाहेकै हुन्छ । त्यसैले लिडरले चाहेको टिमले लिडरकै चाहनाअनुसारको रिजल्ट दिन सक्नुपर्छ ।

राजनीतिक र सैद्धान्तिक रूपमा प्रधानमन्त्रीमाथि आक्षेप लगाउँदै हिँड्ने अनि क्याबिनेटमा बस्ने गर्न त तपाईंहरूले पनि मिल्दैन होला नि ?
पार्टीभित्रका बहसमा मन्त्री निरपेक्ष हुँदैन । त्यसो भए त प्रधानमन्त्रीले पनि पार्टीका बहसहरूमा भाग लिनै भएन नि त, एउटा पक्ष लिनुहुन्छ । पार्टीभित्रको बैचारिक राजनीतिक कार्यशैली र नीति बनाउने विषयमा प्रधानमन्त्री र मन्त्रीबीच मतभेद हुन सक्छ । तर क्याबिनेटका विषयमा मतभेद राखिसकेपछि बस्न मिल्दैन वा थुप्रै विषयमा असमझदारी भएर क्याबिनेटमा बसिराख्नु पनि हुँदैन । तर फेरि कहिलेकाहीँ कुनै व्यक्तिका विषयमा, यो गर्ने त्यो नगर्ने सानातिना विषयमा प्रधानमन्त्रीको मन्त्रीसँग कुरा नमिल्ने, मन्त्रीको प्रधानमन्त्रीसँग नमिल्ने हुन्छ । तर दिनदिनै प्रधानमन्त्री फेर्ने, मन्त्री फेर्ने भन्ने हुँदैन । आधारभूत विषयमा नमिलेपछि बस्नु हुँदैन या राख्नु हुँदैन भन्ने हो । जस्तै, गएको वैशाख ८ गते प्रधानमन्त्रीले अध्यादेश ल्याउँदा मैले, घनश्याम जी र प्रदीपजीले यो त मिल्दैन, सोच्नुस् भनेका हौं । तर हाम्रो अन्तरविरोध क्याबिनेट छाड्छौं भन्ने तहको होइन । अन्ततः प्रधानमन्त्री आफैंले रियलाइजेसन गर्नुभयो । यसरी क्याबिनेटमा क्रिटिकल्ली छलफल भएन भने त प्रधानमन्त्री नै कुनै पनि बेला खाल्डोमा जाने अवस्था हुन्छ । त्यसैले त्यो आरोपमा सत्यता छैन । सरकार र मन्त्रालय सञ्चालनमा अहिलेसम्म मेरो प्रधानमन्त्रीसँग अन्तरविरोध वा प्रधानमन्त्रीको हस्तक्षेप छैन ।

प्रधानमन्त्री र उहाँको टिमबाट व्यक्तिगत रूपमा आरोप आयो भनेपछि अब तपाईंहरूलाई क्याबिनेटमा बस्न अप्ठ्यारो हुन थालेको हो ?
त्यस्तो होइन । अहिले त हामी पार्टीभित्रको बहसमा छौं । स्थायी कमिटीसम्म विषय नै आएको छैन । स्थायी कमिटीमा छलफल गर्छौं, बहस गर्छौं । नेतृत्वसँग हामीले स्थायी कमिटीमा विवाद लिएर आउनुस्, छलफल गरेर एउटा समाधान दिन्छौं भनेका छौं । साउन–भदौको बैठकमा पनि सचिवालयमा हल नभएको विषय स्थायी कमिटीमा आएपछि हामी धेरैखाले साथीहरूले धेरै कोणबाट योगदान गर्‍यौं र अन्ततः पार्टी एकताबद्ध ढंगले अगाडि बढ्ने समझदारी बन्यो । अहिले हामी समझदारीअनुसार काम किन भएन भनेर नेताहरूको कुरा सुन्न चाहन्छौं, जान्न चाहन्छौं । बाहिर बोल्नु सजिलो छ, उहाँहरूको मुखबाट कमिटीमा हामीसँग आँखामा आँखा जुधाएर कमिटमेन्ट र निर्णयअनुसारको काम किन भएन भन्न त भन्नुपर्ने हुन्छ नि । के बाध्यता आइलाग्यो, के त्यस्तो एकदम एक्सट्रिममा पुग्यो ? त्यतिखेर पनि हस्ताक्षर भएको थियो, दुवै पदबाट हटाउने कुरा पनि थियो । अन्ततः प्रधानमन्त्री र अध्यक्ष दुवै रहने गरी सहमति गरौं भनेर समझदारी भएको थियो । त्यत्रो गम्भीर मोडमा पुगेका बेला त्यत्रो मिहिनेत गरेर मिलाएपछि फेरि सजिलै किन संकटमा लगेको ? नेताहरूले हामीलाई जवाफ दिनुपर्ला नि । उहाँहरूको जवाफ माग्छौं, छलफल गर्छौं । स्थायी कमिटीबाट समझदारीपूर्ण र नेताहरूलाई सम्मान हुने ढंगले मिलाउँछौं । अहिले पार्टी एकता र सरकार सञ्चालनमा समस्या आएको छ । आम कार्यकर्ताको नेतामाथि अविश्वास पैदा भएको छ । कतिपय कूटनीतिक विषयमा पनि हाम्रो नेतृत्वको सरकारलाई त्यति धेरै भाउ नदिनेजस्तो देखिन्छ । हामी यस्तो हुन दिँदैनौं, किनभने देश त फेरि भोलि सञ्चालन गर्नु छ । नेताहरूको व्यक्तित्व कमजोर नहुने गरी समाधान खोज्छौं । केही पार्टीमा, केही सरकारमा र केही विचार तथा राजनीतिमा समाधान खोज्ने गरी उपाय निकाल्छौं ।

प्रधानमन्त्रीले पार्टीले सरकार सञ्चालनमा सहयोग गरेन भन्नुभएको छ, तपाईं त्यही क्याबिनेटमा हुनुहुन्छ । पार्टीले असहयोग गरेरै यो स्थिति आएको हो ?
यो अप्ठ्यारो विषय हो । हामीले राम्रो सुरुवात गर्‍यौं । सरकारको २५ वर्षीय भिजन अगाडि सार्‍यौं । १५ औं आवधिक योजना र पञ्चवर्षीय योजना तयार गर्‍यौं, जसमा नेपाललाई मध्यम अर्थतन्त्र भएको देशमा उकाल्ने कुरा थियो । ऊर्जा दशक भनेर घोषणा गर्‍यौं, सडक सञ्जाल सबै गाउँपालिकाका केन्द्रसम्म पुर्‍याउने कुरा गर्‍यौं । रेलमार्ग, जलमार्गको कुरा भयो । यी उत्साहजनक थिए । संघीयताको संरचनागत र कानुनी व्यवस्था गर्न ऐनहरू बनायौं । यसमा सरकारको नेतृत्व सफल देखियो । पार्टीले पनि सहयोग गर्‍यो । पार्टी भनेको संसदीय दल पनि त हो नि । पार्टी भनेको अलग्गै हुँदैन, एक अध्यक्षसहित हामी सिनियर नेताहरू सरकारमा छौं । संसद्मा पनि दर्जनौं हुनुहुन्छ । पार्टी अलग्गै असहयोग गर्ने गरी त कहाँ आएको छ र ? सहयोग गरेकै हो । असहयोग गरेको हो भने त देखिनुपर्‍यो । मूलतः हामी सरकार र पार्टी सँगसँगै अगाडि बढेका हौं । जब डेलिभरीको प्रेसर बढ्दै गयो, कोरोनाको प्रेसर बढ्दै गयो, पार्टीभित्र पनि केही असमझारी बढ्दै गए । साँच्चै भन्ने हो भने नयाँ चुनाव आउँदै गरेपछि प्रेसर बढेको हो । केही समस्या अवश्य पनि बढेका छन् । त्यसैगरी विगतका आलोपालोको समझदारी निकट हुँदै आएपछि विवाद बढेकै हो, यथार्थ किन लुकाउनुपर्‍यो र ! त्यसलाई हामीले गएको स्थायी कमिटीमा एक जनाले पाँच वर्ष प्रधानमन्त्रीले चलाउने, अर्काले अध्यक्ष चलाउने भनेर हल गरिदिएको हो । यी यथार्थ कुरामै टेकेर हामीले बहस गर्नुपर्छ । अहिले स्वाभाविक रूपले पार्टीमा मतभेद भएपछि सरकारमा पनि मतभेद देखिहाल्छ, दलमा पनि देखिन्छ । त्यसैले सुरुमा पार्टी ठीक गर्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालमध्ये कसले कस्ता कमजोरी गर्नुभयो र यो अवस्था आयो ?
केपी शर्मा ओलीको राम्रो पक्ष भनेको टिम बनाउने र
आफ्नो टिमलाई विश्वास गर्ने रहेछ । कुनै विषयमा दृढ रहनुहुन्छ, अडान लिनुहुन्छ । प्रचण्ड कमरेड टिम बनाउनुहुन्न र उहाँ अलिक गतिशील हुनुहुन्छ । ओलीको दृढता र प्रचण्डको सबैलाई मिलाउने क्षमता जोडियो भने राम्रो हुने हो । तर यसलाई नकारात्मक रूपमा हेर्दा केपी कमरेडको दृढताचाहिँ एकलकाँटे, हठजस्तो र टिम निर्माणचाहिँ गुटजस्तो देखिँदो रहेछ । प्रचण्ड कमरेडको गतिशीलता अस्थिरताजस्तो देखिँदो रहेछ । त्यसैले प्रचण्ड खास–खास विषयमा अडान लिएर बस्ने र केपी कमरेड खास खास विषयमा लचक हुन सके एक ठाउँमा पुग्न सकिन्छ । प्रचण्ड कमरेड जोसँग पनि काम गर्न सक्ने, केपी कमरेड अलिक साँघुरो घेरामा काम गर्न खोज्ने कुरालाई मिलायो भने सबै प्रवृत्ति समेटिन्छ ।

दुई अध्यक्षले सुरुमा कर्नरमा पार्दा माधव नेपालले रिजर्भेसन राख्नुभयो । तर आपसी संकट आएपछि दुवैले नेपालसँग मिल्न खोज्नुभयो । पार्टीभित्रको शक्ति सन्तुलनमा नेपाललाई नमिलाउँदा संकट आएको हो कि ?
सामान्यतया दुइटा पार्टीबीच एकता भएको हो । हामीले बुझ्ने तत्कालीन एमाले र माओवादी केन्द्रलाई हो । केन्द्रीय कमिटीमा ५५/४५ र चुनावमा जाँदा ६०/४० बनायौं । सरकार बनाउँदा ३५/४० को हाराहारीमा समझदारी गर्‍यौं । तत्कालीन माओवादीभित्रको प्रवृत्ति प्रचण्डले समेट्नुपर्थ्यो, एमालेभित्रको केपी कमरेडले । तर माधव कमरेडले ‘नोटअफ डिसेन्ट’ लेख्न थालेपछि अहिले सिरियस अवस्था भयो । माधव कमरेडको ठूलो समूहलाई नसमेट्दा भोलि एकता दिगो नहुने हो कि भन्ने चिन्ता भयो । प्रचण्ड बस्ने, माधव आउट हुने हुँदा कुनै पनि हालतमा आन्दोलनलाई राम्रो हुँदैनथ्यो । कम्युनिस्टहरू एक बनाउने भन्ने अनि एमाले र माओवादीका सबै समूह नसमेटिने त भएन । त्यसैले यो परिस्थितिमा मभित्रको अन्तरविरोधमा प्रचण्डले खेल्न खोज्यो कि भन्ने केपी ओलीलाई आशंका भयो । त्यस्तै प्रधानमन्त्रीले पनि तत्कालीन माओवादीभित्रका प्रवृत्तिहरूसँग अलिक संवाद बढाउनुभयो । यसले फेरि प्रचण्डलाई आशंका भयो । हिजो नै समेट्नुपर्ने थियो, ढंग पुगेन । त्यसैले अब पार्टीभित्र बहुमतको शक्ति देखाउने चरणमा जानेबित्तिकै कि अल्पमत बहुमतमा जानुपर्छ कि पार्टीभित्र भएका विभिन्न प्रवृत्तिलाई समेट्नुपर्छ, यति त हो जम्माजम्मी कुरा ।
हिजो दुई अध्यक्षलाई देखाएर भोट मागियो, चुनाव लडियो । केपी ओलीलाई पहिलो नेता र प्रचण्डलाई निर्णायक शक्तिको नेताका रूपमा अघि सारिएको हो । दुइटा मिल्दा स्थायित्व दिन्छौं भनेका हौं । तर आज प्रचण्डलाई चुनाव जित्न र अस्तित्वका लागि पार्टी एकता गरेको भन्ने, प्रधानमन्त्रीको नामले मात्र भोट आएको जस्तो गर्ने ? एउटाको महिमामण्डन गर्ने ? मेरो अनुरोध के हो भने पार्टी एकता बचाऔं । संविधानले संघीयता, धर्मनिरपेक्षता, जनआन्दोलन र जनयुद्धलाई अनुमोदन गरेको हो, त्यो एजेन्डा कमजोर पार्ने काम नगरौं । जनताले नेकपा र गठबन्धनलाई विश्वास गरेको हो । उपाय खोज्नुपरे पार्टीभित्रै खोजौं, विकल्पहरू पार्टीभित्रै खोजौं तर कमजोर गर्ने गरी विकल्प नखोजौं । आज एकले अर्कालाई जतिसुकै खुइल्याए पनि हिजो जनतासमक्ष हामी टेस्ट भएका नेता हौं । आन्दोलन र राजनीतिमा टेस्टेड नेता नै छौं, भोलि पनि यो मैदान छाड्दैनौं । त्यसैले हामी सीमामा बसेरै छलफल गरौं ।

सचिवालयमा आएका प्रस्ताव के हुन्छन् ? स्थायी कमिटीमा जान्छन् कि साझा प्रस्ताव बन्छ ?
सकेसम्म साझा प्रस्ताव बनाउँदा राम्रो हुन्छ । तर अहिलेको छलफल र परिस्थिति त्यस्तो देखिँदैन । अरू नेता बैठक बसौं भन्ने, प्रधानमन्त्री नमान्ने । सामान्यतया कार्यकारी अध्यक्षले बैठक बसौं भनेपछि प्रधानमन्त्रीले मानिदिएको भए हुने, बैठक बसौंभन्दा बैठक बसाउन पनि नसक्ने हो भने त के कार्यकारी अध्यक्ष ? अर्का अध्यक्ष (प्रधानमन्त्री) ले हुन्छ भनिदिएको भए हुने । नमानेपछि फेरि ५ जना बहमुत सदस्यले निवेदन दिनुपर्‍यो । प्रधानमन्त्रीले सहज रूपमा बहुमत नेताले भनिहाले भने भनेर बसेको भए पनि हुन्थ्यो तर कार्यकारी अध्यक्षसहितले गरेको दुई पेजको प्रस्तावमा तोक लगाइदिने । यस्तो कार्यशैलीले ‘पिन्च’ पर्छ । त्यहाँ अलिकति पानी खन्याइदिएको भए त्यहीँ सिद्धिन्थ्यो । तर तोक लगाइदिने र १० पेजको अर्को जवाफ दिने भएपछि प्रचण्डको जवाफ आएको हो । प्रचण्डको १९ पृष्ठको जवाफमा डबल ३८ पेज आइहाल्यो । ९ जनामा भएका विषय वैचारिक, राजनीतिक, व्यक्तिगत इगो र कार्यशैलीका समस्या छन् । त्यसैले ती सबै कुरा स्थायी कमिटीमा ल्याउनुहोस्, नौ नेता मात्र होइन, अरू नेता पनि छौं भनेका हौं ।

विवाद चर्किंदा दोस्रो पुस्ताका नेता किन शान्त बसेका हुन् ?
स्थायी कमिटी दुई महिना लामो ‘टफ’ अवस्थाबाट समाधान खोजेर अलिक रिल्याक्समा बसेको थियो । मिल्यो भनेका बेला त्योभन्दा ठूलो समस्या आयो । त्यतिबेला यति ठूलो ध्रुवीकरण र निष्कर्षमा नेतृत्व पुगेको थिएन । अहिले प्रधानमन्त्रीलाई यही रूपमा राख्न सकिँदैन, प्रधानमन्त्रीकै रूपमा राखेर जनमतलाई सम्मान गर्न सकिँदैन भन्ने प्रचण्ड कमरेड र अरू नेताहरू हुनुहुन्छ । उहाँहरूले आत्मालोचना र करेक्सन (प्रधानमन्त्रीले) गर्नुपर्छ, नभए उहाँको विकल्प खोज्नुपर्छ भन्ने तहमा पुगेको स्थिति छ । प्रधानमन्त्रीचाहिँ मलाई यहाँनिर रोक्छन्, त्यसपछि अध्यादेश ल्याउँछु, कांग्र्रेसलाई यहाँनिर प्रयोग गर्छु, त्यहाँभन्दा अगाडि मध्यावधिसम्म जान्छु भन्नेसम्मका कुरा समातेर बसेको अवस्था छ । यति ठूल्ठूला निष्कर्षमा पुगेपछि त्यसलाई ‘ब्रिजिङ’ गर्न अलि धेरै मिहिनेत चाहिन्छ । अहिले विचार, कार्यशैली र प्रवृत्तिमै फरकजस्तो देखिएको छ । आ–आफ्नो गन्तव्य मोटामोटी तय गरेजस्तो देखिन्छ । पार्टीका लागि असाधारण र अभूतपूर्व संकट छ तर हरेक समस्याभित्र समाधानका उपाय हुन्छन् । मेरो विश्वासचाहिँ पार्टी फुट्दैन, अहिलेको उपलब्धि जोगिन्छ भन्ने हो ।

ठूलै ॅब्रिजिङ’ आवश्यक छ भन्नुभयो । त्यही ब्रिजिङका लागि राष्ट्रपति र कतिपय विदेशी राजदूतसमेत खटिनुभएको हो ?
सम्माननीय राष्ट्रपतिको प्रधानमन्त्रीसँगको भेटघाट सामान्य र नियमित हो । सत्तारूढ दलको अध्यक्षसँगको भेटलाई पनि सामान्य रूपमा लिनुपर्छ । तर पार्टीकै विषयमा प्रवेश गरेर तिमीहरू यसरी मिल, यसलाई कर्नर गर वा तेस्रोसँग मिलेर यसो गर भनेर समीकरणकै लागि त केही गर्नुभएको छ भन्ने लाग्दैन । पार्टीका विषय देशकै अभिभावकसँग नपुगोस् भन्ने हाम्रो अपेक्षा हो । राष्ट्रपतिजी पनि सकेसम्म त्यसमा केही पनि नजोडिनु र नाम नआउनु राम्रो हो । तर अहिले नाम आयो, जोडिनुभयो भन्ने होइन । सबैले सम्मान र आदर गर्ने रोल मोडलकै रूपमा त्यस्तो निकाय बस्नुपर्छ । विदेशी राजदूतहरूबाट कुनै हस्तक्षेप हुनु हुँदैन । हामी देश, पार्टी र राजनीतिमा कुनै पनि प्रकारको हस्तक्षेप कहिल्यै नचाहने कम्युनिस्ट पार्टी हो । कूटनीतिक भेटघाट हुन्छन् तर राजदूतहरूलाई पार्टीका विषयमा प्रवेश गराउनु हुन्न ।

पार्टीको संकट चुलिएका बेलाचाहिँ राष्ट्रपति र राजदूतको भेटघाट किन बाक्लिन्छ त ?
संयोग मात्र होला । धेरै शंका गर्ने हाम्रो बानी छ । यति ठूलो आन्दोलन गरेर सँगै हिँडेका नेताचाहिँ नमिल्ने, एउटा राजदूत आएर मिलाउन सक्ने भन्ने हुन्छ र ?

सरकारमा सुरुदेखि नै हुनुहुन्छ, प्रचण्डको दस्ताबेजमा भ्रष्टाचारका कुरा आएका छन् । तपाईंको धारणा के छ ?
हामीले दीर्घकालीन नीति र संरचनाका काम गरेका छौं । तत्काल रिजल्ट दिने र दीर्घकालीन हुने दुइटा काममा ध्यान दिनुपर्ने थियो । अपेक्षालाई सन्तुलन मिलाउन सकेनौं । कोरोना सुरु भएपछि अर्थतन्त्रलाई टिकाइराख्न र देशलाई कम असर कसरी पर्छ भन्नेमा प्रयत्न छ । अहिलेको गम्भीर अवस्थालाई सरकारले सम्बोधन गर्नु जरुरी छ । तीव्रतामा जानुपर्नेमा सरकारको गति नपुगेको जस्तो छ । अहिले डेभलपमेन्ट भिजन र डेलिभरीमा अलमलियौं कि ? सरकार सामान्य रूपमा चलेको छ तर हाम्रो अपेक्षा र यथार्थबीचमा ग्याप छ । भ्रष्टाचारका विषय सम्बन्धित निकायले हेरोस् । हामी कोही पनि मन्त्री ती निकायमा फेस गर्न तयार छौं । प्रश्न उठ्नेबित्तिकै डराएर हिँडेका छैनौं ।

सरकारले गति नै नलिएको हो भने अब ड्राइभर नै फेरिदिने हो ?
कोरोना संकटका कारण ड्राइभर फेरेर पनि सजिलै जान सकिँदैन, जसरी ड्राइभिङ गरे पनि जस आउँदैन । होइन, संकटका बेला आँट्छु भन्ने हो भने ट्राई गरेर हेरौं भन्न पनि सकिन्छ । लङ रुटमा जाँदा ड्राइभरहरूले पालैपालो चलाए पनि हुन्छ । लङ रुटमा ड्राइभर फेर्ने कुरा हुँदा आश्चर्य मान्नु हुँदैन ।

Page 4
समाचार

'भारत र चीनमा बन्ने खोप नेपाललाई उपयुक्त’

- अतुल मिश्र

(काठमाडौं) - विशेषज्ञहरूले कोभिड–१९ विरुद्घको खोप ल्याउन नेपालले उत्तर र दक्षिणका छिमेकी चीन र भारतसँग विशेष सहकार्य गर्नुपर्ने सुझाव दिएका छन् । चीन र भारतले प्रयोग गर्ने खोप नेपालका लागि समेत उपयुक्त हुन सक्ने उनीहरूको
भनाइ छ ।
‘कोभिडविरुद्घको खोपका लागि सरकारले तुरुन्त चीन र भारतसँग सघन संवाद सुरु गर्नुपर्छ, हाल राज्यले खोपका लागि गरेको प्रयास अत्यन्त सुस्त देखिएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘खोप उपलब्धताका लागि युरोप र अमेरिकाभन्दा बढी ध्यान चीन र भारततिर दिँदा त्यो दीर्घकालीन हुन्छ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनलगायत अन्य खोप निर्माता मुलुकका सरकार प्रमुखसँग प्रत्यक्ष फोन सम्पर्क गरेर खोपका लागि पहल बढाउने बताए । नेपालीको जिन, रहनसहन, खानपान, वातावरण, आर्थिक अवस्था, स्वास्थ्य पूर्वाधार र संरचना आधारभूत अवस्था चीन र भारतसँग मिल्दोजुल्दो भएकाले त्यहाँ उपयोग गरिने कोभिडविरुद्घको खोप युरोप–अमेरिकामा उपयोग हुनेको दाँजोमा नेपालका लागि उपयुक्त हुने डा. ठाकुरको दाबी छ ।
विज्ञहरूले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्स सुविधाबाट सहुलित दरमा आउने भनिएको खोप सम्पूर्ण नेपालीका लागि अपुग हुने भएकाले खोप आपूर्तिको दिगो र विश्वसनीय साझेदारसँग संवाद र निर्भरताका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याए । मुलुकलाई सहुलियत मूल्यमा प्राप्त हुने भनिएको कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्घको खोप हालसम्मको विकासक्रमअनुसार कुल जनसंख्याको २० प्रतिशतका लागि मात्र दिइनेछ । त्यो पनि यो खोप एकै पटकमा नभई चरणबद्घ रूपमा दिइनेछ ।
कोभाक्सअन्तर्गत सुरुमा कुल जनसंख्याको ३ प्रतिशतका लागि हुने कोभिडविरुद्घको खोप पाइने स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय ‘बाल स्वास्थ्य तथा खोप शाखा’ का प्रमुख डा. झलक शर्मा गौतमले बताए । कोभ्याक्सअन्तर्गत पहिलो चरणको खोप भित्रिनेबित्तिकै सुरुमा जोखिम बढी भएकाहरू अर्थात् फ्रन्टलाइनर र बूढापाकाहरूलाई दिइने उनले जनाए । मुलुकको २० प्रतिशत जनसंख्या अर्थात् करिब ६० लाख जनसंख्याबाहेकका लागि खोप सुनिश्चित गर्न अन्य मुलुकसँगै तत्काल भारत र चीनसँग विशेष संवाद सुरु गरिहाल्नुपर्ने विज्ञहरूले बताएका छन् ।
हाल अन्तिम चरणमा रहेको चीनका ४ र भारतका ३ खोपमा नेपालले विशेष ध्यान दिनुपर्ने औंल्याउँदै डा. ठाकुर भन्छन्, ‘भारत र चीनसँग खोपका लागि दोहोरो सघन संवाद सुरु गर्नुपर्छ । यो संवाद खोपको उपलब्धता, वितरण, तालिम आदिबारे सुनिश्चित हुनुपर्छ ।’ भारतको केही दिनयता छिमेकी पहिलो नीतिअनुसार नेपाल र बंगलादेशलाई खोप सहयोग गर्ने भने पनि कति मात्रा दिनेबारे स्पष्ट भएको छैन । गत साता नेपाल भ्रमणमा रहेका विदेश सचिव हर्षवर्धन श्रृंगलाले भारतमा खोप उपलब्ध हुनेबित्तिकै नेपाललाई सहयोग गर्ने नेपाली अधिकारीलाई बताएका थिए ।
अन्तिम चरणको परीक्षणमा १० खोप
गाभीको अनुसार हाल विश्वमा कोभिडविरुद्घ १५४ भन्दा बढी खोप प्रि–क्लिनिकल अर्थात् जनावर र प्रयोगशालासम्बन्धी प्रयोग भइरहेका छन् । यस्तै २१ वटा खोप पहिलो चरणको ट्रायल (परीक्षण) अन्तर्गत स्वस्थ युवा व्यक्तिमा परीक्षण भइरहेको छ । यसअन्तर्गत ९ वटा प्रोटिन आधारित, ८ वटा भाइरल भेक्टर, २ वटा न्युक्लिक एसिड र १ वटा भाइरस आधारित खोप छन् । १३ वटा खोपको दोस्रो चरणअन्तर्गत मानिसहरूको ठूलो समूहमा परीक्षण भइरहेको छ । यस्तै १० वटा खोपको कोभिडप्रतिको प्रभाव हेर्न अन्तिम अर्थात् तेस्रो चरणको बृहत् अन्तर्राष्ट्रिय परीक्षणबाट
गुज्रिरहेका छन् ।

समाचार

‘कोभाक्सले गरेको पहल सराहनीय’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोपको पहुँच सबैका लागि सुनिश्चित गर्न कोभाक्सले गरेको पहलको सराहना गरेका छन् । ‘कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्रसंघीय महासभाको ३१ औं विशेष अधिवेशन’ मा बिहीबार भर्चुअल सम्बोधन गर्दै ओलीले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताए । ‘खोपसम्बन्धी सुखद समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताका रूपमा देखापरेको छ । धनी र गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभाक्सले गरेको पहलकदमीको हामी सराहना गर्दछौं ।’
उनले अभूतपूर्व गति र व्यापकतासाथ फैलिरहेको महामारीले जोकसैलाई जुनसुकै स्थानमा रहे पनि प्रभावित तुल्याएको बताए । ‘सबै समाज, अर्थतन्त्र र मुलुकहरू गम्भीर रूपमा प्रभावित भइरहेको सन्दर्भमा महामारीको त्रासदी अकथनीय छ,’ उनले भने । सम्बोधनका क्रममा उनले विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र नभएको बताए । भाइरस नियन्त्रणका लागि उपलब्ध सबै राजनीतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतहरूको परिचालन गरेको उनको भनाइ थियो ।

समाचार

फ्रान्समा खोप निःशुल्क

- कान्तिपुर संवाददाता


फ्रान्स (कास)– आफ्ना सबै नागरिकका लागि फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइनेछ । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन् ।
उक्त खोप अभियानबारेको प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको र त्यहाँबाट स्वीकृति मिल्नेबित्तिकै सुरु गरिने उनले बताए । फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिन सुनिश्चित गर्ने र त्यसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको समाचारमा जनाइएको छ ।
फ्रान्सले २० करोड थान खोप विभिन्न खोप उत्पादक कम्पनीहरूबाट व्यवस्था गरेको उनले बताए । उनले यी खोपहरू सुरक्षित र प्रभावकारी हुने पनि आश्वस्त
पारेका छन् ।

समाचार

घटेकै हो संक्रमण दर ?

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– मुलुकमा कोभिड–१९ को संक्रमण दरमा पछिल्ला केही दिनयता कमी देखिए पनि वास्तविकता थाहा पाउन अझै कुर्नुपर्ने विज्ञहरूले बताएका छन् । हाल सय जनाले परीक्षण गराउँदा पहिलेको तुलनामा पोजिटिभ रिपोर्ट आउने संख्यामा कमी देखिएको छ । एक सातायता कोभिडको दिनहुँ देखिने औसत संक्रमण दर १५.५२ प्रतिशत देखिएको छ ।
विज्ञहरूले कोभिड संक्रमण दर कम देखिनुको कारण विदेश जाने, कार्यालय जाने, परीक्षण प्रतिवेदन चाहिने व्यक्तिहरूले मात्र परीक्षण गर्नु र शंकास्पद व्यक्तिहरूले परीक्षण कम गर्नु रहेको बताएका छन् । सरकारी अधिकारीहरूले पनि तथ्यांकअनुसार संक्रमणका दरमा कमी देखिए पनि यकिनसाथ भन्न केही समय कुर्नुपर्ने बताएका छन् । ‘मंसिर लागेपछि मुलुकमा कोभिड संक्रमण दर घटेजस्तो ट्रेन्ड (प्रवृत्ति) देखिएको छ,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘तर यसबारे स्पष्ट रूपमा भन्न अझ केही पर्खनुपर्ला, न्यूनतम दुई साता त हेर्नैपर्ला ।’ पछिल्लो समय पीसीआर परीक्षण १० हजारभन्दा मुनि छ, जसका कारण संक्रमण प्रतिशतमा कमी देखिएको विज्ञहरूको भनाइ छ । ‘हाल शंकास्पद व्यक्तिले परीक्षण गराउनै छोडे, यसैले संक्रमणका दरमा कमी देखिएको हो, साधारण लक्षण भएकाले त परीक्षण नै गराउँदैनन्,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘परीक्षण गराउनेमा विदेश जाने, अफिस जाने वा कोभिड नभएको रिपोर्ट चाहिनेहरूको संख्या बढी छ । जसले संक्रमणको दर कम देखिएको हो ।’
डा. बीसीका अनुसार तथ्यांकमा कोभिड परीक्षण गराउनेहरूमा पोजिटिभ देखिने दरमा कमी आए पनि समाजमा रहेका वास्तविक कोभिड पोजिटिभहरूको संख्यामा कमी आएको छैन । उनी संक्रमणको दरमा कमी आउनुलाई अस्वाभाविक मान्छन् । संक्रमणको दर ८ प्रतिशतभन्दा तल झरे नियन्त्रणतर्फ गएको मान्न सकिने जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुर भन्छन्, ‘हाल नेपालीको गतिविधि अत्यन्त बढेकाले वास्तविक संक्रमण दरमा थप विस्तार भएको हुनुपर्छ ।’
सातायता संक्रमण दर सरदर १५–१६ प्रतिशतमा झरेको जनाउँदै डा. पाण्डे भन्छन्, ‘तर मृत्युदर बढेको छ । सरदर दिनहुँ १५–१६ जनाको मृत्यु भइरहेको छ ।’ उनका अनुसार संक्रमण दरमा कमीसँगै मृत्युदरमा समेत कमी भएमा मात्र तत्कालका लागि स्थिति सहज हुँदै गएको भन्न सकिन्छ । ‘संक्रमण दर घट्दै गएको भन्न गहिराइमा गएर हाल कस्ता व्यक्तिले कोभिड परीक्षण गराइरहेका छन्, त्यो पनि राम्ररी हेर्नुपर्छ,’ उनी भन्छन्, ‘कन्ट्याक्ट ट्रेसिङ वा संक्रमितको सम्पर्कको मान्छेले परीक्षण गराएको भए संक्रमण दर बढ्ने थियो ।’

Page 5
शनिबार विशेष

यहाँ 'अ–सुर’ हरूको राज छ !

- भूपेन्द्र खड्का

 

३० वर्षदेखि ललितपुर महालक्ष्मीस्थानस्थित घरभित्र एकोहोरो जीवन बिताउन बाध्य छन्, भजनशिरोमणि भक्तराज आचार्य । २०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो । हातले हार्मोनियमका रिडहरु फिट्न सके पनि स्वर र सुर हरायो । आफूले गाएका करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीतलाई साक्षी राखेर उनको जीवन बेसुर बन्यो । सुरमा पकड भएका विशेष गायक भनेर प्रशंसा पाइरहेको उर्वर समयमै क्यान्सरले उनको जिब्रो काटिनु नेपाली संगीतका निम्ति एउटा सुर हराउनुजस्तै हो । २०७७ साल मंसिर १५ गते बिहान साढे ११ बजे उनको घर पुग्दा उनी पिँढीमा उठीउठी एक सुरले हातमा तातो पानी खन्याइरहेका थिए । अन्तर्वार्ता गर्छु भनेर १० वर्षदेखि गरिएका अनेक कोसिस आज यथार्थ बन्दै थियो । यसपालि भेट्दा भक्तराज आचार्य अलि हँसिला र स्वस्थ देखिए । नबुझिने कुरा उनका ज्येष्ठ सुपुत्र सत्यराजलाई भन्न लगाएर नसोध्नुपर्ने तर सोध्न मन लागेका कुरा उनलाई सोधेको छु । छेउमै छिन्, उनकी धर्मपत्नी सुशीला आचार्य ।

विसं २०२० मा नेपाल आई रेडियो नेपालमा स्वर परीक्षा पास गरेर किन डुवर्स फर्किनुभयो ?
भारतको डुवर्सबाट १ सय भारु लिएर नेपाल आएको थिएँ । विष्णुप्रसादको रचना र आफ्नै स्वर संगीतमा रेडियो नेपालमा स्वर परीक्षा पास गरें । रेडियोमा गीत रेकर्ड गर्न भने दिइएन । खिचापोखरीको ग्याट्सोको लजमा बस्दा–खाँदा पैसा सकियो अनि डुवर्स फर्किएँ ।

डुवर्समा तपाईं के गर्नुहुन्थ्यो ?
डुवर्सको दुम्सीपाडा चिया बगानमा काम गर्थें । म एक वर्षको हुँदा बुबा बितेपछि २००० सालमा धनकुटाबाट हाम्रो परिवार डुवर्स बसाइँसराइ गर्‍यो । गरिबीका कारण प्राइमरीभन्दा माथि पढ्न सकिनँ । ३ वर्ष प्राइभेट ट्युसन पढेर अंग्रेजी सिकें ।

संगीत कहाँ सिक्नुभयो त ?
म सानैदेखि गाउने, नाच्ने गर्थें, नाटकमा अभिनय पनि गर्थें । चिया बगानमा गीत गुनगुनाउँथें । दुम्सीपाडाबाट सामसिङ चिया बगानमा काम गर्न आएपछि संगीतको विशेष ज्ञान लिने मौका मिल्यो । चिया बगानका हेडक्लर्क डीबी घिसिङ संगीतका पारखी थिए, उनीसँग हार्मोनियम, तबला, गीतार थिए । त्यहीं अभ्यास गरें । उनीसँगै कर्डस्हरू सिकें । २–४ वटा रागहरू पनि सिकें । संगीतको मेरो गहिराइ र अभ्यास त्यहींबाट भयो । स्टाफ नोटेसनचाहिं दिव्य खालिङसँग सिकें ।

तपाईं त २०३० सालमा मात्रै फेरि नेपाल आउनुभयो । १० वर्ष के गर्नुभयो ?
शास्त्रीय संगीतको अभ्यास गरें । चिया बगानमा काम गरें । दुःखजिलो गरेर परिवार पालें । नेपाल आउने पैसा जम्मा गर्दै रहें ।

२०३० सालमा आयोजित देशव्यापी राष्ट्रिय गीत सम्मेलनमा कसरी गीत गाएर प्रथम हुनुभयो त ?
म २०३० साल चैत ५ गते काठमाडौं आएँ । सोही दिन कुमार बस्नेतलाई भेटें । उनले नातिकाजीलाई भनेर रेडियोमा गीत रेकर्ड गर्ने व्यवस्था मिलाइदिए । त्यसको भोलिपल्ट रेडियो नेपालमा नकुलकाजीको शब्द र आफ्नै संगीतमा ‘मलाई जीवन चाहिन्छ...’ बोलको गीत पहिलोपल्ट रेकर्ड गर्ने अवसर प्राप्त गरें । सबैले गीत राम्रो भएको प्रतिक्रिया दिए । त्यसपछि उत्साहित भएर प्रतियोगितामा गाउनका निम्ति नातिकाजी, शिवशंकरसँग मलाई गीत दिनुस् भनी अनुरोध गरें तर उनीहरूले मलाई पत्याएनन् । त्यसपछि अम्बर गुरुङलाई भेट्न प्रज्ञा प्रतिष्ठान गएँ । उनलाई मैले पहिलेदेखि नै चिनेको थिएँ । २०२४ सालमा वेस्ट बंगाल कल्चरको कार्यक्रम गर्ने क्रममा उनी डुवर्स पुगेका थिए । त्यतिबेला मैले हिन्दी र बंगला भाषामा गीत गाएको थिएँ । उनले मेरा गीतहरू सुनेर प्रशंसा गरेका थिए । त्यसैको भरमा म उनीसँग गीत माग्न गएँ । उनले विश्वास गरेर मलाई आफ्नो रचना र संगीत रहेको ‘होसियार यसबखत समयको मुखलाई चिन...’ बोलको गीत दिए । प्रतियोगितामा गाएँ र स्वरतर्फ प्रथम भएँ ।

तपाईं सो प्रतियोगितामा प्रथम हुँदा अम्बर गुरुङ, नारायणगोपाल र बच्चुकैलाश निर्णायक थिए । पछि तिनै निर्णायकहरूसँग तपाईंको प्रतिस्पर्धा र उठबस पनि भयो । साँच्चिकै दोस्ती–दुस्मनी के थियो ?
अम्बर गुरुङसँग त्यसपछि केही गीतमा मात्रै सहकार्य भयो । नारायणगोपाल र म असाध्यै मिल्थ्यौं । उनी अरूको प्रशंसा खासै गर्दैनथे । हाम्रा कमजोरीहरूबारे छलफल हुन्थ्यो । खासमा उनी राम्रा गायक हुन् तर उनको एउटा ठूलो कमजोरी थियो, उच्चारणको । एकपटक नातिकाजीको कोठामा उनलाई मैले उनको उच्चारणबारे भनेको थिएँ । गलत उच्चारणले फरक अर्थ लगाउँछ भन्दै मैले ईश्वरवल्लभको गीत ‘मेरो बेहोसी आज...’ को अन्तरा ‘यो ‘नसा’ जिन्दगीको या हो ‘नशा’ रक्सीको...’ मा उच्चारण एउटै छ । यी शब्दको अर्थ एउटा ‘रक्तनली’ हो भने अर्को ‘मात’ हो । त्यसैले यिनको उच्चारण फरक हुनुपर्छ भन्दा उनी मुसुमुसु हाँसिरहे, कुनै प्रतिक्रिया दिएनन् । नातिकाजी र शिवशंकर मुखामुख गरे । बच्चुकैलाश भने कम बोल्ने, घुलमिल कम हुने स्वभावका थिए । अहिले पनि घरभित्रै छन् क्यार ∕

आधुनिक गीत गायन प्रतियोगितामा किन भिड्नु भएन ?
होइन, म २०३२ सालको प्रतियोगितामा भिडेको थिएँ । सो प्रतियोगितामा तारादेवी ‘अप्रतियोगी’ को रूपमा सहभागी थिइन् । प्रतियोगिताको नतिजा घोषणा गर्ने क्रममा तत्कालीन सञ्चारमन्त्री जोगमेयर श्रेष्ठले उनलाई प्रथम घोषणा गरेका थिए । वास्तवमा त्यो एउटा जालझेल र ममाथिको अन्याय थियो । त्यसपछि प्रतियोगितामा भाग लिने मन नै भएन ।

कलाकारहरू मदिराका कारण बदनाम हुने गरेका छन् । नारायणगोपाल पनि यसमै जोडिन्छन् । तपाईंहरू त जिग्री, मदिराको लत कत्तिको लाग्यो ?
खासमा नारायणगोपाल, फत्तेमान र म सँगसँगै हुन्थ्यौं । सबैलाई थाहा छ, नारायणगोपालले ट्वाँट खान्थे, मात्नेगरी नै । फत्तेमान उनलाई बाइकमा बोकेर हिंड्थे । मैले एकपटक पुतलीसडकमा नारायणगोपालसँग मात्नेगरी ट्वाँट खाएको थिएँ । त्यो साँझ सँगै रहेका गीतकार रुद्रराज आचार्यले फत्तेमान र मलाई बाइक पछाडि राखेर घर
छोड्दिएका थिए । म त्यस्तो धेरै खाने होइन, खाएको भए त रोग लागेर उहिल्यै मरिसक्थें नि ∕

त्यतिबेला नारायणगोपालका ॅगीतियात्रा’, ॅब्लु नोट्स’ जस्ता एल्बमहरू निस्केका थिए । तपाईंचाहिं के गरिरहनुभएको थियो ?
मैले पनि एल्बमको तयारी गरेको थिएँ । एउटा भजनको एल्बम ‘समर्पण’ म्युजिक नेपालले २०४३ सालमा निकालेको थियो । २०४४ सालमा म्युजिक नेपालले गजल एल्बमका निम्ति अफर गरेको थियो । थोरै रोयल्टी दिने कुरा गरेपछि मैले त्यसलाई क्यान्सिल गरें । खुद्रा गीत गाउन र संगीत भर्नमै व्यस्त भएँ ।

नेपाली संगीत क्षेत्र र तपाईंको जीवनको कालो दिन २०४६ साल मंसिर १९ को घटनामा जाऊँ । खासमा त्यो दिनको घटना यो उमेरमा आएर नढाँटीकन बताइदिनुस् न Û
मैले आजसम्म केही ढाँटेकै छैन । खासमा भएको यस्तो हो– गीतकार कञ्चन पुडासैनीले गोपाल योञ्जनलाई
आफ्नो गीतमा संगीत गराएर क्यासेटमा डमी भरी मलाई दिएका थिए । मैले त्यसको रेकर्डिङका लागि अभ्यास पनि गरेको थिएँ । सो गीत सुनाउन त्यस दिन दिउँसो १ बजे काठमाडौंको चक्रपथ, धुम्बाराहीमा कञ्चन पुडासैनी र म गोपाल योञ्जनको घर पुगेका थियौं । गोपाल योञ्जनको बैठक कोठा माथिल्लो तलामा थियो । हामीले दिउँसो १ बजेदेखि बेलुकी सवा ८ बजेसम्म उनलाई भेटेर सो गीत सुनाउन कुरिरह्यौं । हामी आएका छौं भनेर सूचना दिने मान्छेले ‘एकछिन, एकछिन’ भन्दै दिनभर कुराए । मैले कञ्चनलाई ‘जाऔं’ं भन्दा उनले ‘एकछिन कुरौं न’ भन्दाभन्दै रात पर्‍यो । भोक–प्यासले लोथ परेका बेला सवा ८ बजे गोपाल योञ्जनले माथि बोलाए । मैले हार्मोनियम बजाएर २–४ चोटि गीत सुनाउँदा १ घण्टाजस्तो बितिसकेको थियो । त्यसपछि हामी घर जान बिदा भयौं । हामीलाई बाइकमा छोडिदिन गोपाल योञ्जनले पूर्ण नेपालीलाई अह्राए । त्यसपछि हामी तेब्बर लोडमा पूर्णको बाइक चढ्यौं । म बीचमा बसें, कञ्चन पछाडि बसे र कञ्चनलाई छोड्न धुम्बाराहीबाट जोरपाटीस्थित उनको घर पुग्यौं । उनलाई छोडेर फर्कंदै गर्दा बौद्धस्थित छिरिङ रेस्टुरेन्टको अगाडि ल्याएर पूर्णले बाइक रोक्यो । मंसिरको जाडो छ, अलिकति ट्वाँट खाएर जाऊँ न दाइ भन्यो । मैले यति ढिला भइसक्यो, घर निकै टाढा छ, यो ठाउँ पनि डेन्जर छ, त्यसो नगरौं, जाऊँ भनें । तर, उसले जबर्जस्ती गर्‍यो र भन्यो– त्यसोभए तपाईं हिंडेर जानुस्, नखाईकन म तपाईंलाई पुर्‍याउन सक्दिनँ ∕ त्यसपछि मैले त्यसोभए म यहीं बस्दै गर्छु, तिमी छिटोछिटो खाएर आऊ भनें । ऊ भित्र पस्यो । म जाडोमा लुगलुग काम्दै त्यहीं उभिइरहें । बस चढेर घर जाऊँजस्तो पनि लाग्यो । तर, साझा बस ९ बजे नै बन्द भइसकेको थियो । त्यहाँबाट हिंडेर ललितपुरको महालक्ष्मीस्थान आउन सम्भव पनि थिएन । म बाध्य भएर उसलाई कुरिरहेको थिएँ । करिब २०–२५ मिनेटमा ३ जना मानिस ढुनमुनिंदै मेरोछेउ आए र मलाई भने, ‘ओए, हामीले खाएको पैसा तिर्, नत्र भेट्लास् ।’ मैले मसँग पैसा पनि छैन, अनि मैले तपाईंहरूले खाएको किन तिर्ने ? मात्र भनेको थिएँ, उनीहरूले रक्सीका बोतलले मेरो टाउकोमा हिर्काए । म बेहोस भएँ । अलिअलि थाहा छ, २ जना भागे । होटलको साहु छिरिङ म मरें कि भनेर मलाई हेर्दै थियो । छेउको पुलिस चौकीबाट पुलिस आएर साहुलाई पक्रियो । भोलिपल्ट होस खुल्दा म वीर अस्पतालको बेडमा थिएँ । भएछ के भने रक्सी खाएर पूर्ण नेपालीले पैसा तिर्ने बेलामा बौद्धका त्यतिबेलाका नामुद गुन्डाहरू सूर्यमान श्रेष्ठ र सूर्य मानन्धरले आफूहरूले खाएको बिल पनि तिरिदिन पूर्णलाई धम्क्याएछन् । पूर्णले मेरो बिल त त्यो बाहिर बसेको मान्छेले तिरिदिएको हो, उसैलाई भन्नु नि भनेछ र उनीहरू मसँग पैसा माग्न आएका रहेछन् ।

त्यसपछि घटनाले कुन रूप लियो ? तिनीहरूलाई कारबाही भयो त ?
रेस्टुरेन्टको साहु छिरिङ र गुन्डाका बाउहरूलाई पुलिसले पक्रियो । गुन्डाहरू र पूर्ण नेपाली फरार भए । मेरो सम्पूर्ण उपचार खर्च गुन्डाका बाउहरू र छिरिङ रेस्टुरेन्टको साहुले बेहोरे ।

त्यत्ति कुरा थाहा हुँदा पनि तपाईं किन कानुनी प्रक्रियामा जान सक्नुभएन त ?
कानुनी प्रक्रियामा गयौं तर पूर्णलाई तोकिएको म्यादभित्र पुलिसले भेट्टाउन सकेन । अर्कोतिर मेरो टाउकोमा १ सय टाँका लगाएर उपचार गरेकाले म निकै शिथिल थिएँ । छोराहरू सानै थिए । श्रीमतीले के गर्नु, क–कसको स्याहार गर्नु ? बाँच्नपट्टि लागियो । आफूले नगरेको गल्तीको सजाय भोग्नु पर्दैन भन्ने मलाई लाग्यो । तर, त्यस्तो भएन ।

त्यसपछि त निको भएर तपाईंले गीत पनि गाउनुभो होइन ?
हो, आरआर क्याम्पसले आयोजना गरेको स्वागत कार्यक्रममा २०४९ सालमा ३ वटा गीत गाएँ पनि– ‘मुटु जलिरहेछ...’, ‘सागर छ गहभित्र...’ र ‘जति चोट दिन्छौ...’ । त्यसपछि जिब्रोमा खटिरा देखापरे । डाक्टरलाई देखाउँदा क्यान्सरको शंका गरे । त्यो चोटको असर जिब्रोमा पर्‍यो ।

भक्तराज आचार्य, देशको एक नामुद गायकको जिब्रो काटिंदा कस्तो भो ?
अहिले म बाबुलाई नै प्रश्न गर्छु, आफ्नै जिब्रो भएन भने कस्तो होला ? पीडालाई शब्दमा भन्न सक्दिनँ । म निर्दोषले ठूलो सजाय पाएँ । खासमा त्यही दिनमा मेरो सक्रिय जीवनमा पूर्णविराम लागेको हो । सर्वनाश भयो भनेर मर्न मन लाग्यो । एम्स (अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज) मा जिब्रो काटिएपछि छतबाट हाम फालेर आत्महत्या गर्न खोजें पनि । सुशीलाले बचाइन् (श्रीमतीतिर हेर्दै) । छोराहरू साना थिए । उनीहरूको माया लागेर आयो । खासमा मेरो यो जीवनभन्दा मृत्यु राम्रो हो तर पनि म बाँचिरहेको छु । जर्मनीमा प्लास्टिक सर्जरी गरेर जिब्रो राख्ने भनेर गएँ । तर, शरीरकै मासु काटेर जिब्रो जोडियो । त्यो खिइँदै गयो । अँ, इः मेरो जिब्रो छ त (आँ गरेर जिब्रो देखाउँदै) ? त्यतिबेला प्लास्टिक सर्जरी भनेको प्लास्टिकको जिब्रो जोड्ने हो भन्ने मलाई लागेको थियो । आफ्नै शरीरको मासु काटेर जोड्ने भन्ने थाहा पाएको भए म जर्मनी जाने नै थिइनँ ।

३० वर्षदेखि घरमै हुनुहुन्छ । गीत–संगीत कस्ता र कत्तिको सुन्नुहुन्छ ?
अलिअलि सुन्छु । हिन्दी, उर्दू गीत–गजल बढी सुन्छु । नेपाली पनि सुन्छु । छोराहरू सत्य–स्वरूपले आफ्ना गीतहरू सुनाए भने राम्रो/नराम्रो भन्दिन्छु । उनीहरूलाई गाइड गरिरहेको हुन्छु । एउटा मात्रै गीत राम्रो भएर प्रगति हुँदैन । मैले दुइटा गीतमा संगीत पनि गरें, ‘आचार्य’ चलचित्रका ‘आगोको राप जीवन...’ र ‘पर्ख, पर्ख...’ मा ।

नेपाली संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
सुर, शब्द र संगीतको थोरै ज्ञान भएकाहरूको हालिमुहाली छजस्तो लाग्छ । जस्तो पनि गीत, जस्तो पनि संगीत र जस्तो पनि गायकी हुँदैन । खासमा संगीतमा ‘अ–सुर’ (बेसुरा) हरूको राज छ ।

गीतको पनि साहित्यिक मूल्य हुन्छ । त्यो कस्तो हुनुपर्छ ?
खासमा साहित्यको चेत भएको कविको गीत निकै शक्तिशाली हुन्छ । तुक्का जोड्दैमा गीत बन्दैन । अहिलेभन्दा पहिलाको लेखाइ राम्रो थियो ।

समकालीन कवि, लेखकहरूको संगत र उनीहरूका सृजना गाइएनन् भने त्यो समयको सृजना जीवन्त हुँदैन । तपाईंले आफ्ना समकालीन कविहरूका गीत किन कम गाउनुभयो ?
नगाएको होइन, गाएको छु । ईश्वरवल्लभ, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारीहरूका गीतमा संगीत गरेर गाएको छु । बढी संगत गरेर होला, ईश्वरवल्लभ साँच्चिकै कवि थिए । त्यतिबेलाका कवि, लेखकले गीत त दिन्थे तर राम्रो छैन भन्यो भने अपजस आउने । बरु त्यसको साटो नयाँ प्रतिभाका राम्रा गीत छानेर गाएँ । नयाँ गीतकारहरूको मन नदुखोस् भनेर उनीहरूको गीत गाएँ ।

तपाईंले त ॅचौतारीमा राजा भेटियो...’ भन्ने राजाको गुनगान गाएको गीत पनि गाउनुभयो । तपाईं आजसम्म पनि खरो, कडा स्वभावको क्रान्तिकारी जस्तो हुनुहुन्छ । त्यो गीत राजावादी भएर गाउनुभएको कि के हो ?
वादी–सादी केही होइन म । त्यसरी गाएको होइन । फत्तेमान राजभण्डारी मेरो जिग्री साथी । ऊसँग मैले मेरो संगीतमा ‘सुन राम्रो, चाँदी राम्रो...’ गीत युगल गाएको थिएँ । त्यसैको पैंचो तिर्न उसले संगीत गरेको क्षेत्रप्रताप अधिकारीको गीत ऊसँगै युगल गाएको हुँ ।

पञ्चायतकालमा भक्तराज आचार्य बन्न निकै मिहिनेत गर्नुभयो है Û
राधाप्रसाद घिमिरे सञ्चारमन्त्री भएर आएपछि २०३१ सालदेखि रेडियो नेपालमा मासिक २ सय रुपैयाँमा ९ वर्ष ज्यालादारीमा काम गरें । रागवेन्द्रप्रताप शाह सञ्चारमन्त्री भएपछि उनकै तोकआदेशमा सुब्बा बनाइदिए । त्यसको ६ महिनामा अधिकृत भएँ । सुब्बा भएपछि मलाई रेडियो नेपालका शत्रुहरूले जागिरबाट निकाल्न विशेष प्रहरीमा उजुरी पनि दिएका थिए । यो मान्छे भारतीय हो, यसको नागरिकता छैन, यो एजेन्ट हो भनिएको रै’छ उजुरी पत्रमा । त्यतिबेला राममणि रिसाल रेडियो नेपालका सहायक निर्देशक थिए । उनका गीत, भजन मैले गाएको पनि थिएँ । मेरा मिल्ने साथी पनि थिए । उनले विशेष प्रहरी प्रमुखलाई भेटेर ममाथि लगाइएको आरोप मिथ्या भएको बताएपछि मेरो जागिर बच्यो । अधिकृत भएको साढे ११ वर्षपछि राजीनामा दिन लगाइयो । अहिले मासिक ३४ हजार पेन्सन आउँछ । बाँच्नका निम्ति मैले गरेको त्यो संघर्ष भयानक थियो ।

संघर्ष, सफलता, जीवन के रै’छ ?
खासमा जन्मनु नै व्यर्थ छ । केही फाइदा छैन । सफल भयो भने छिर्के हान्छन्, असफल भयो भने कसैले चिन्दैन । केही गर्छु भनेर पनि फाइदा छैन ।

जीवनको सुन्दर पल र स्मरणीय दिन कुन हो तपाईंको ?
म महाअभागी मान्छे हुँ । र, पनि मेरो पहिलो गीत रेकर्ड हुनुलाई नै मेरो जीवनको सबैभन्दा सुन्दर पल र यात्राको सुरुआत मान्छु । यदि गाउन नपाएर डुवर्स फर्किनुपरेको भए मलाई कसैले चिन्दैनथे । म कहानीविहीन मान्छे हुन्थें । भारतीय, पाकिस्तानी गजल गायक मेहेदी हसन, गुलाम अली, सौकत अलीले मेरो गायकीको प्रशंसा गरेर आशीर्वाद दिए । ती दिनलार्ई म स्मरणीय दिन मान्छु ।

देशको राजनीतिक अवस्था कस्तो लाग्छ ? राजनीतिप्रति यहाँको धारणा के छ ?
मलाई घृणा छ । भ्रष्टाचार छ । आफ्नो पेट भरेर जनतालाई भोकै राख्ने काम नेताहरूबाट भएको छ । भाषण दिने मात्रै हाम्रा लागि हो । यी प्युसाहरूभन्दा त राजा नै ठीक थिए, कम से कम आफ्ना लागि मात्रै नभएर जनताका लागि केही गरेका पनि थिए । अघि नै भनें नि मैले– संगीतमा जस्तै राजनीतिमा पनि असुरहरूकै राज छ ।

Page 6
शनिबार विशेष

महाभारत युद्ध : मिथक कि यथार्थ ?

- भोगीराज चाम्लिङ

 

केमहाभारत युद्ध साँच्चै भएको थियो ? विद्वान्बीच लामो समयदेखि छलफल र बहस चलेको विषय हो यो । यो अझै लामो समयसम्म कायम रहनेछ । अन्तिम
टुङ्गोमा चाहिँ सायदै पुगिनेछ । यद्यपि यसबारे आजसम्म चलेका छलफलसँग परिचित हुनु अन्यथा हुने छैन ।
एकथरी विद्वान् महाभारत युद्धलाई केवल मिथक ठान्छन्, अर्कोथरीचाहिँ यथार्थ मान्छन् । महाभारत युद्धलाई मिथक मान्नेमा भारतीय विद्वान्हरू नै अग्रपंक्तिमा छन् । यसको नेतृत्व डीसी सरकारले गरेका छन् । प्रायः युरोपेली विद्वान्हरू महाभारत युद्धलाई यथार्थ नै मान्छन् । त्यस्तै भारतका पुरातत्त्वविद् पनि महाभारत युद्ध भएको हुन सक्छ भन्ने सम्भावनाकै पक्षमा देखिन्छन् ।
महाभारत युद्ध कहिले भएको थियो भन्नेबारे मूलतः दुईथरी मान्यता छ— परम्परागत र आधुनिक । परम्परागत मान्यता राख्नेहरू महाभारत युद्धलाई त्यस्तै ५००० वर्षपहिलेको मान्छन् भने आधुनिक विद्वान्हरूचाहिँ त्यस्तै २९०० वर्षजति प्राचीन मान्छन् । यीमध्ये अलि स्वीकार्य र वस्तुपरक मतचाहिँ एफई पार्जिटर, एससी रायचौधरी र बीबी लालको रहेको छ ।
िि
िपरम्परागत मतअनुसार, महाभारत युद्ध द्वापर र कलि युगको सन्धिकालमा भएको थियो अर्थात् महाभारत युद्धपछि द्वापर युग समाप्त भएर कलि युग सुरु भयो । यहाँ स्मरणीय कुरा के भने संस्कृत साहित्यमा चार युगको परिकल्पना गरिएको छ— कृत (धर्म अथवा सत्य), त्रेता, द्वापर र कलि ।
त्यसो भए कलि युग कहिले सुरु भयो त ? भारतका रविकीर्तिको शक संवत् ५५६ (अर्थात् सन् ६३४–३५) को अइहोल अभिलेखमा लेखिएको छ— महाभारत युद्धदेखि आजसम्म ३७३५ वर्ष बितिसकेको छ । यसलाई आधार मान्दा, इसापूर्व ३१०२ मा महाभारत युद्ध भएको थियो (राय चौधरी, पोलिटिकल हिस्ट्री अफ् एन्सियन्ट इन्डिया, सन् १९५३, पृष्ठ २७) । भन्नुको अर्थ हो, महाभारत युद्ध आजभन्दा ५१२२ वर्षपहिले भएको थियो ।
तर अर्को परम्परागत मान्यताको नेतृत्व गर्ने हिन्दु ज्योतिषशास्त्री तथा इतिहासकार वृद्ध–गर्ग, वराहमिहिर र कल्हणका अनुसार, महाभारत युद्ध कलि युग सुरु भएको ६५३ वर्षपछि तथा शक संवत् सुरु हुनुभन्दा २५२६ वर्षपहिले भएको थियो । अर्थात् महाभारत युद्ध इसापूर्व २४४९ मा भएको थियो (राय चौधरी, पृष्ठ. २७) । भन्नुको अर्थ हो, महाभारत युद्ध आजभन्दा ४४६९ वर्षपहिले भएको थियो । यी दुवै परम्परागत तर्कमा खासै तार्किक आधार भेटिँदैन भन्ने मत रहेको छ राय चौधरीको ।
िि
िआधुनिक विद्वान्हरूमा केपी जयसवालले इसापूर्व १४२४ मा, एसएस अल्टेकरले इसापूर्व १४०० मा र एसएन प्रधानले इसापूर्व ११५२ मा महाभारत युद्ध भएको थियो भन्ने मान्यता राख्छन् (बीबी लाल, महाभारत ः मिथ एन्ड रियलिटी, सन् १९७६, पृष्ठ ५६) । यो भनेको वैदिक काल हो तर वेदहरूमा महाभारत र महाभारत युद्धबारे केही पनि उल्लेख नभएकाले यो मतमा पनि खासै मान्य आधार पाइँदैन ।
तुलनात्मक रूपमा मान्य तर्क गर्ने पार्जिटर र राय चौधरीले पुराणले दिएको वंशावलीलाई आधार बनाएर महाभारत युद्धको समय आकलन गरेका छन् भने लालले महाभारतसँग सम्बन्धित भूगोलमा गरिएका उत्खननबाट प्राप्त पुरातात्त्विक वस्तुसँग तुलना गरेका छन् ।
पार्जिटरको मत (एन्सियन्ट इन्डियन हिस्टोरिकल ट्राडिसन, सन् १९२२, पृष्ठ. १७९–१८२) । भारतमा चन्द्रगुप्तको शासन इसापूर्व ३२२ मा अथवा लगभग त्यही समयवरपर सुरु भएको थियो । उनीभन्दा अगाडि महापद्म र उनका ८ भाइ छोरा गरी नन्द वंशका ९ जनाले १०० वर्ष शासन गरेका थिए । के भनिन्छ भने महापद्म एक्लैले ८८ वर्ष शासन गरे । पार्जिटरको विचारमा महापद्मले ८८ वर्ष शासन गरे भन्नुभन्दा पनि उनी ८८ वर्ष बाँचेका थिए भन्नु उपयुक्त हुन्छ । उनी २० वर्ष पुगेपछि शासनमा पुगेका थिए भनेर मान्ने हो भने १०० वर्षमा २० वर्ष घटाउँदा ८० वर्ष महापद्म र उनका ८ भाइ छोराहरूले शासन गरे भन्न सकिन्छ । अब यसरी हिसाब गर्दा महापद्मको शासनकाल (३२२+८०) इसापूर्व ४०२ हुन आउँछ ।
संस्कृत ग्रन्थमा दिइएको विवरणअनुसार, महाभारत युद्धदेखि महापद्ले शासन गर्दासम्म इक्ष्वाकु, पाञ्चाल, काशी, हैय, कलिङ्ग, अश्वमक, कुरु (पौरव), मैथिल, सूरसेन र वितिहोत्र गरेर १० वंशका २५७ जना राजाले शासन गरेका थिए । पार्जिटरको विचारमा महापद्मभन्दा पहिलेका यी २५७ राजाले औसतमा हिसाब निकाल्दा २६ पुस्ता शासन गरे । एक जना राजाले १८ वर्ष शासन गरेको मान्ने हो भने
महापद्मभन्दा पहिला २५७ राजाले (२६ पुस्ता × १८ वर्ष) ४६८ वर्ष शासन गरे । के भनिन्छ भने महापद्मले यी १० अधिराज्यलाई जितेर एउटै राज्य बनाएका थिए । अब उनी राजा भएको २० वर्षमा यी अधिराज्यमाथि विजय प्राप्त गरेका थिए भनेर मान्ने हो भने महापद्मले इसापूर्व ३८२ मा यी अधिराज्यमाथि विजय प्राप्त गरेको मान्नुपर्ने हुन्छ । यसरी हिसाब गर्दा महाभारत युद्ध (३८२+४६८) इसापूर्व ८५० मा भएको थियो ।
एचसी राय चौधरीको मत (पोलिटिकल हिस्ट्री अफ् एन्सियन्ट इन्डिया, पृष्ठ ३३–३६) । राय चौधरीले गुरु–शिष्य परम्परालाई आधार बनाएर महाभारत युद्धको समय आकलन गरेका छन् । युद्ध समाप्त भएसँगै परीक्षित राजगद्दीमा बसेका थिए भन्ने कुरा महाभारत र पुराणहरूबाट थाहा हुन्छ । ‘कथा–सरित्–सागर’ मा दिइएको वंशविवरणअनुसार, परीक्षितका छोरा जनमेजय उपनिषद्मा उल्लेख हुने गुरु जनक र उनका समकालीन उद्दालक आरुणीभन्दा पाँचौं या छैटौं पुस्तापछाडिका हुन् । उद्दालक आरुणीका चेला कहोल कौशिटकी हुन् र कहोलका चेला हुन् गुणाख्या सांख्यायन । यसरी हेर्दा परीक्षितभन्दा आठ या नौ पुस्ता पछाडिका देखिन्छन् गुणाख्या सांख्यायन । रायस डेबिस र हर्मन ज्याकोबीजस्ता विद्वान्हरूले सामान्यतया एक पुस्ताका लागि औसत ३० वर्ष मान्न सकिन्छ भनेका हुनाले परीक्षितलाई गुणाख्याभन्दा २४० (८ पुस्ता × ३० वर्ष) अथवा २७० (९ पुस्ता × ३० वर्ष) वर्षपहिलेको मान्न सकिन्छ । र, गुणाख्यलाई चाहिँ इसापूर्व छटौं शताब्दीको मानिने भएकाले त्यसमा २४० वर्ष या २७० वर्ष जोड्दा इसापूर्व ८४० या ८७० वर्षपहिले महाभारत युद्ध भएको मान्न सकिन्छ । फराकिलो समयसीमा राखेर भन्ने हो भने इसापूर्व ९औं शताब्दीमा महाभारत युद्ध भएको थियो ।
बीबी लालको मत (महाभारत ः मिथ एन्ड रियलिटी, पृष्ठ ५३–६०) । भारतका पुरातत्वविद् बीबी लालका अनुसार, महाभारतमा उल्लेख भएका केही स्थानहरू उत्तर प्रदेशस्थित कौरवहरूको राजधानीे मानिने हस्तिनापुर, पाण्डवहरूलाई लाक्षागृहमा जिउँदै जलाउने प्रयास गरिएको स्थान बर्नावा (प्राचीन नाम वार्णावत), बाघपथ (प्राचीन नाम वृकप्रस्थ) र मथुरामा गरिएको उत्खननमा जमिनमुनि तल्लो सतहमा पुरातात्त्विक वस्तुहरू फेला परेका छन् । त्यस्तै पाण्डवहरू वनबास बसेको मानिने राजस्थानस्थित बैरात् (प्राचीन नाम विराटनगर), हरियाणास्थित पानीपत (प्राचीन नाम पानीप्रस्थ) र युद्धभूमि कुरुक्षेत्र र दिल्लीस्थित इन्द्रपथमा गरिएको उत्खननका क्रममा पनि जमिनमुनि तल्लो सतहमा पुरातात्त्विक वस्तु फेला परेका छन् ।
प्हिलो कुरा, यी क्षेत्रमा धातुका बन्चरो, धनुकाँडमा प्रयोग हुने तीरलगायत हतियार फेला परेका छन्, जुन युद्धमा प्रयोग हुन्छन् । त्यस्तै १, २, ३, ४
अङ्कण गरिएको गोटी आदि पनि फेला परेको छ, जसले चौपर भन्ने खेल खेलिन्थ्यो भन्ने स्पष्ट हुन्छ । त्यस्तै माटोका थाली, कटोरा, लोटा फेला परेका छन्, जुन अहिले पनि प्रयोग गरिँदै छ । आगोमा डढाइएका यी भाँडाहरूलाई ‘पेन्टेड ग्रे वेयर’ (पीजीडब्लू) भनिन्छ । जमिनमुनि सबैभन्दा तल्लो सतहमा भेटिएका यी पुरातात्त्विक वस्तु महाभारतमा वर्णित सबै भूगोलमा प्राप्त भएका हुन् ।
अर्को महत्त्वपूर्ण कुराचाहिँ के भने हस्तिनापुरमा गंगानदीमा आएको बाढीले बगाएको बस्तीको अवशेष पानीमुनि १५ मिटर तल फेला परेको छ । यो कुरा पुराणमा गरिएको वर्णनसँग ठ्याक्कै मेल खान्छ । पुराणमा भनिएको छ– ‘जब गंगा नदीले
नागसाह्वय (हस्तिनापुर) लाई बगाइदियो, निशाक्क्षु यो ठाउँ छाडेर कौसाम्बीमा बस्न थाले ।’ यहाँ स्मरणीय चाहिँ के भने कौसाम्बीमा गरिएको उत्खननका क्रममा भेटिएका माटाका भाँडाकुँडाहरू हस्तिनापुरको भन्दा थोरै फरकचाहिँ छ तर त्यो हस्तिनापुरकै निरन्तरतामा विकास भएको हो भन्ने आधार छ । महाभारतमा उल्लेख भएका यी स्थानहरूमा भेटिएको भौतिक संस्कृति समान हुनुले यी क्षेत्र एकआपसमा सम्बन्धित र समकालीन थिए भन्ने बुझिन्छ । दोस्रो कुरा, हस्तिनापुरको भन्दा माटाका भाँडाकुँडा थोरै फरक हुनुले गंगा नदीमा आएको बाढीले हस्तिनापुर बगाएपछि कौसाम्बीमा राजधानी सारिएको थियो भन्ने पुराणको भनाइ सही साबित हुन्छ ।
दोस्रो कुरा, युद्धमैदानमै अभिमन्यु मरेपछि उनका छोरा परीक्षित राजा भए । पुराणमा दिइएको वंशावलीअनुसार, हस्तिनापुर राजधानी सारेपछि परीक्षितदेखि उदयनसम्म २५ पुस्ता राजाले शासन गरे । र, उदयनलाई चाहिँ गौतम बुद्धको समकालीन मानिन्छ । बुद्धको मृत्यु इसापूर्व ४८३ या ४८७ मानिने हुनाले उदयनलाई सामान्य रूपमा इसापूर्व ५०० को मान्न सकिन्छ । भारतका बहुपरिचित रावंश मौर्य, सुङ्ग, कन्व, सतवाहन र गुप्त राजाहरूको औसत शासनकाल १४ वर्ष रहेको देखिन्छ । यसैलाई आधार मान्ने हो भने परीक्षितबाहेक कौसाम्बीमा शासन गर्ने २४ जना कौरव राजाहरूले कुल (२४ राजा ×१४ वर्ष) ३३६ वर्ष शासन गरे । यसरी हेर्दा महाभारत युद्ध सम्भावित रूपमा इसापूर्व ८३६ (५००+३३६ वर्ष) पहिले भएको थियो भनेर अनुमान गर्न सकिन्छ अर्थात् इसापूर्व ९औं शताब्दीमा महाभारत युद्ध भएको थियो ।
अब यो मितिसँग पुरातात्त्विक उत्खननबाट प्राप्त वस्तुको समय मिल्छ कि मिल्दैन भनेर पनि हेर्न जरुरी छ । उत्खननबाट प्राप्त पुरातात्त्विक वस्तुमध्ये ‘पेन्टेड ग्रे वेयर’ (पीजीडब्लू) को ‘कार्बन डेटिङ’ विधि ‘सी–१४’ द्वारा निकालिएको समयअनुसार, उत्तर प्रदेश अत्रन्जिखेरको भाँडा इसापूर्व १०२५ सम्म प्राचीन देखिएको छ । राजस्थानमा इसापूर्व ८२० को हो भन्ने देखिएको छ । र, यी भाँडालाई विस्थापन गर्ने रुपर, पन्जाबमा प्राप्त माटाको भाँडा ‘नर्दन ब्ल्याक पोलिस्ड वेयर’ (एनबीपीडब्लू) चाहिँ इसापूर्व ४८५ को मानिएको छ । भनेपछि ‘पेन्टेड ग्रे वेयर’ नाम दिइएको माटाको भाँडाको समय औसतमा १०००–५०० मान्न सकिन्छ । महाभारत युद्ध भएको थियो या थिएन, यो अलग कुरा हो तर महाभारतसँग सम्बन्धित भूगोलमा उत्खनन गर्ने क्रममा फेला परेका माटाका भाँडाको समय र पौराणिक वंशावलीले बताएअनुसार हिसाब गरेर निकालिएको महाभारत युद्धको समय लगभग मिल्दोजुल्दो देखिन्छ ।
िि
ितर परम्परागत अथवा आधुनिक विद्वान्हरूभन्दा विछट्टै फरक तेस्रोथरि मत राख्छन् डीसी सरकार (महाभारत ः मिथ एन्ड रियलिटी, पृष्ठ १४०–१४१) । उनका अनुसार, महाभारत युद्ध विशुद्ध मिथक हो, इतिहासको विषय होइन । जब उनले सन् १९७५ मा यस्तो अन्तर्वार्ता दिए तब खैलाबैला मच्चियो । धेरैले उनको खण्डन गरे । उनको भनाइ के हो भने महाभारत युद्ध पारिवारिक या जनजातीय संघर्षको सानो घटना हो, जसका आधारमा युद्धगीत रचना भयो । त्यही युद्धगीतलाई लामो समयको अन्तरालमा यति फुलाइयो कि मूलकथा नै हरायो । उनी के पनि भन्छन् भने ‘महाभारतलाई अन्तिम रूप दिने बखत कौरव र पाण्डवबीच युद्ध भएको देखाइएको छ तर खासमा कौरव र पाञ्चालबीच युद्ध भएको हो । भनेपछि पाण्डव वंशका परीक्षितलाई आधार बनाएर महाभारत युद्धको समय निर्धारण गर्नुको के अर्थ हुन्छ ?’
अन्तिममा यति भन्नैपर्छ– महाभारत युद्धको अस्तित्व अस्वीकार गर्नेदेखि ५००० वर्ष पुरानो मान्ने मतहरूका बीचमा अन्तहीन बहस जारी रहने पक्का छ ।

शनिबार विशेष

किम्फ : नयाँ दर्शक समूहको सम्भावना

- कान्तिपुर संवाददाता


काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण यही मंसिर २५ देखि २९ गते (डिसेम्बर १० देखि १४) सम्म आयोजना हुँदै छ । ‍कोरोना महामारीले निम्त्याएको संकटसित जुध्दै आशा र विश्वासका साथ अगाडि बढ्न ‘तमसोमा ज्योतिर्गमय’ को नारासहित महोत्सव भर्चुअल रुपमा आयोजना हुनेछ । चर्चित भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्याङ्स एन्ड अ मुस्ट्याच’ फेस्टिभलको आकर्षणको केन्द्रमा छ । फेस्टिभलका उद्देश्य, चुनौती र छनोट भएका फिल्मका विषयमा किम्फका अध्यक्ष वसन्त थापासँग रिना मोक्तानले गरेको कुराकानी ः

भर्चुअल फेस्टिभलको तयारी के छन् ?
पहिला–पहिला हलमा कसरी दर्शक तान्ने हुन्थ्यो भने अहिले अनलाइनमा धेरैभन्दा धेरै दर्शकको ध्यान कसरी तान्ने भन्ने चुनौती छ । चार महिना अनलाइनमा १५/१६ वटा पुराना फिल्म देखाएर हामीले एउटा अभ्यास गर्‍यौं । त्यो लगभग हाम्रो फेस्टिभलको पूर्वाभ्यासजस्तै भयो । कोभिडले फैलाएको नैराश्यको स्थितिमा केही उत्साह जगाओस् भनेर प्रयास र अभ्यास गरेका थियौं । त्यही अनुभवबाट त्योभन्दा बृहत् फेस्टिभलसम्म आइपुगेका छौँ । तयारी छ र चुनौती पनि छ ।
यो चुनौतीलाई सामना गर्ने कसरी ?
चुनौतीलाई स्वीकार नगरी बसेर त हुँदै भएन । फेस्टिभल नगर्दा पनि हुन्थ्यो । गर्नू भनेर हामीलाई कसैले आदेश दिएको होइन । उर्दी दिएको पनि होइन । हाम्रो विचारले, रहरले सुरु गरेका हौं । फेस्टिभल थालेको पनि २० वर्ष भयो । कार्यक्रमका हिसाबले यो १८ औं फेस्टिभल हो । हामीलाई के लाग्यो भने कठिन परिस्थितिमा नै गर्ने हो नि । सजिलोमा त जसले जे पनि गर्छ । भूकम्पको बेला पनि यस्तै चुनौती आइलागेको थियो ।
त्यो बेला पनि त फेस्टिभल आयोजना भयो होइन र ?
हो । खासमा भूकम्पको ६ महिनापछि नै फेस्टिभल थियो । भूकम्पले सारा देश तहसनहस थियो । तर, अहिले जुन विचारले अभिप्रेरित भएर गरिरहेका छौं, त्यही विचार त्यो बेला पनि आयो । दुःख छ, पिर छ, अनेक छ । सधैं रोएर, कराएर त हुँदैन भन्ने लाग्यो । त्यसमा अलिकति मल्हम त लगाउनुपर्‍यो नि फिल्मले भन्ने सोच्यौं ।
फिल्म हेर्ने शुल्क ?
यो पालि शुल्क पर्दैन । अर्को कुरा यो पालि एउटा फिल्म प्रदर्शन भएको पाँच दिनसम्म हेर्न पाउनेछन् दर्शकले ।
भर्चुअली फेस्टिभल आयोजना गर्दाका फाइदा पनि होलान् नि ?
जतिसुकै प्रचार गरे पनि हलमा त दर्शक सीमित नै हुन्छन् । राष्ट्रिय सभागृहमा ६ सय दर्शक अटाउँछन् । भर्चुअल गर्दा संसारभरका मानिसले हेर्न पाउँछन् । हुन सक्छ, अनलाइनमा एउटै फिल्म ३ हजारले हेर्न सक्छन् । र, नयाँ दर्शक समूहको सम्भावना देखिएको छ ।
यसपालिको आकर्षण के होला ?
चर्चित भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्याङ्स एन्ड अ मुस्ट्याच’ को फिल्मबाट फेस्टिभलको उद्घाटन गर्छौं । यो फिल्मको सुटिङ नेपालमै गरिएको थियो । प्रमुख अतिथिका रूपमा उहाँको भर्चुअल उपस्थिति हुनेछ । कोरोना नभएको भए भौतिक रूपमै आउनुहुन्थ्यो पक्कै ।
फेस्टिभलका लागि कस्ता फिल्म छनोट भयो अहिलेसम्म ?
अवश्य पनि उत्कृष्ट, हृदयस्पर्शी फिल्म नै छानेका छौँ । अन्तर्राष्ट्रिय खण्डमा १८ फिल्म छन् र ‘नेपाल पानोरामा’ अन्तर्गत १३ कथानक र डकुमेन्ट्री छन् ।
छनोट भएका फिल्मका विषयवस्तु, कथ्यशैली र प्रस्तुतीकरण कस्ता छन् ? दर्शकले त्यो फिल्म किन हेर्ने ?
ओपनिङ फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्याङ्स एन्ड अ मुस्ट्याच’ ले उठाएको विषयवस्तु राम्रो छ । क्लोजिङ फिल्म ‘द बिलभेड डटर’ भन्ने नेपालकै कथामा बनेको छ । अर्को छ, ‘बाटो’ भन्ने, जसलाई लुकास मिलार्डको निर्देशनमा केसाङ छेतेनले निर्माण गरेका हुन् । अर्को ‘हाइवेज अफ लाइफ’ भन्ने छ । त्यस्तै ‘बोन एन्ड द वेस्ट’ छ । मैले नाम लिएका यी फिल्महरूको विषयवस्तु निकै राम्रा छन्, सिनेमाप्रेमीहरूका लागि दर्शनीय छन् । नेपाली पानोरामामा ‘स्नो लियोपार्ड कलिङ’ को वर्ल्ड प्रिमियर हुँदै छ, यससँगै पानोरामामा छुटाउनै नहुने फिल्महरू छन् यसपालि ।

शनिबार विशेष

नेपाली महिलाको राजनीति के भयो ?

- अभि सुवेदी

 

नेपाली महिलाको राजनीति अहिले के भयो भन्ने प्रश्न साधारणजस्तो प्रतीत भए पनि लाग्छ, जटिल बन्दै गएको छ । जहाँ राजनीतिको कलेबर लाउके पुरुषहरूका कुण्ठा र महत्त्वाकांक्षाले स्तर नपुगेको आधुनिक चित्रकलाजस्तो दुरूह बन्दै गएको छ, त्यहाँ यो प्रश्न मनमा उठ्नु स्वाभाविक हो । म राजनीतिक विश्लेषक नभएको हुनाले केही लक्षणा, केही
रङ्गमञ्चीय चरित्रहरू, एकाध स्तर नपुगेका अभिनयहरू, केही महत्त्वपूर्ण राजनीतिक महिलाहरूसँगका फोन वार्ताहरू, अनि अध्ययनहरूका आधार राखेर आफ्ना विचारहरू बनाउँछु ।
राजनीतिमा संलग्न सक्रिय राजनीति गर्ने महिलाका लेखहरूमा पनि यो चिन्ताका छलफल पढ्न पाइँदैन । तर, महिला र अधिकार विषयमा लेखहरू आउँछन् र तिनमाथि विश्वविद्यालयमा शोधप्रबन्धहरू पनि लेखिन्छन् । जस्तो कि एकेडेमिक र कवि सरिता तिवारीको नारीवादी चिन्तन, यसमाथिका बहस र नेपालमा त्यसको प्रयोग विषयमाथि लेखिएको एउटा अर्को बलियो लेख ‘वारि नारीवाद पारि नारीमुक्ति’ भर्खरै ‘कान्तिपुर’ मा प्रकाशित भएको छ (मंसिर ९, २०७७) । यो एउटा उदाहरण हो । अरू पनि लेखिँदै आएका छन् ।
मैले छलफल गरिबस्ने राजनीतिज्ञ विद्वान् हिसिला यमी हुन् । उनका लेखहरू पढ्छु । भर्खरै मेरो विचारका निम्ति पठाएको एउटा मस्यौदा लेखमा हिसिला यमीले आफू बहुलभाषी भएर त्योसँग जोडिएका समस्याहरूको विषयमा लेखेकी छन् । उनको माओवादीकालको जीवन र त्यसपछि उनलाई राजनीतिले कहाँ लाँदै छ भन्ने विषयमा उनले लेखेको त्यति पढ्न पाएको छैन । यमीको एउटा संस्मरण दिल्लीको पेंग्विनबाट प्रकाशित हुने भएको छ । त्यसमा उनका राजनीतिक संस्मरणहरू छन् । त्यसको प्रकाशन केही कारणले ढिलो भएको छ । त्यस्तै माओवादी युद्धमा लडेकी सीता विकको संस्मरणको छोटो भूमिकामा मैले मंसिर २०७६ मा यस्तो लेखेको छु, ‘युद्धभित्रका संस्मरण’ शीर्षक र ‘सीता विक सम्झना’ उपशीर्षक भएको प्रकाशन हुन लागेको किताबको प्रेसप्रति मलाई मण्डला बुक प्वाइन्टमा दिन आउने व्यक्ति उनै लेखक सीता विक थिइन्, जसका सम्झनाको पहिले निस्केको किताब विषयमा मैले अनेकौं अवसरमा चर्चा गरेको थिएँ । त्यसको विद्यार्थीहरूलाई अनुसन्धानमा प्रयोग गर्न लगाएको थिएँ र त्यो नेपाली साहित्यका विदेशी अध्येताहरूलाई उपलब्ध गराएको थिएँ । राम्ररी संशोधन गरिएको र अझ स्तरीय बनाएको यो संस्करण फेरि पढ्दा मैले केही महत्त्वपूर्ण कुराहरू बुझेको अनुभव भएको छ ।’ अहिले प्रकाशित भैसकेको होला ।
संविधानमा प्रस्ट उल्लेख भएको छ, संसद्को उप–सभामुख महिला हुनुपर्छ, जुन त्यही कारणले खाली छ । शिवमाया तुम्बाहाम्फेले मानसिक र भावनात्मक तनावमा त्यो पद छोडेकी थिइन् । उनले एउटा उद्घोष गरेर छोडेकी थिइन्, जसको प्रशंसामा मैले लेखेको थिएँ, ‘शिवमायाले भनिन्– संवैधानिक पदमा रहने व्यक्तिमा स्वतन्त्र रहने साहस हुनुपर्छ । उनको लडाइँ त्यही थियो । सभामुख प्रचण्डका मानिस हुन्छन् वा ओलीका त्यसमा शिवमायाको केही आग्रह थिएन । उनले संविधानसम्मत धैर्य गर अनि आफू निर्णय गरेर आओ भनेकी थिइन् । संवैधानिक स्थानमा रहने व्यक्ति स्वतन्त्र रहनुपर्छ भन्ने उनको आह्वान त्यस्तो नरहनेका निम्ति अबदेखि चुनौती भएको छ । त्यही आचरण भत्किँदै गएको देखेकी डा. शिवमायाको यो सन्देश एउटा घटना हो, लोकतन्त्रको’ (कान्तिपुर ११ माघ २०७६) ।
सोझै भन्दा, संघीय गणतन्त्रात्मक संविधान, दलहरूका नियम र आचार, संसद्का नियमित कर्महरू, नियुक्ति अनि महिला समावेशी विषयबिना कुनै संकोच भत्किँदै गएका छन् । मलाई लाग्न थालेको छ, राजनीतिमा जीवन अर्पण गरेर किताबदेखि हतियारसम्म अनि संस्मरणहरू पनि बोकेका महिलाहरू बिस्तारै सीमान्त बन्दै गएका त होइनन् ? अदृश्य बनाइँदै गएका त होइनन् ? हेजिमोनीबाट बन्दै गएको यो एक डरलाग्दो राजनीतिक पश्चगामी चिन्तनको परिणाम होइन भन्न सकिँदैन । पार्थ चटर्जीले मेरा पूर्वविद्यार्थी र मित्रहरूले भर्चुअलदानीमा आयोजना गरेको सेमिनारबारे लेख्दा मैले एउटा निष्कर्षमा लेखेको थिएँ, ‘भारतमा जस्तो सीधै अमूक वर्ग सम्प्रदायका मानिसलाई त्यो हेजिमोनीबाट बाहिर राखेजस्तो नदेखिए पनि नेपालमा दलित र महिलालाई संविधानविपरीत गएर भयानक विभेद गरिँदै आएको देखिनु गम्भीर विषय हो । भोलिको पोपुलिस्ट आन्दोलन कस्तो हुन्छ आकलन गर्न सकिँदैन । यो विस्तृत छलफलको विषय हो’ (कान्तिपुर २० भदौ २०७७) ।
तर चर्चा र छलफलमा लामो समयदेखि राजनीतिमा संघर्ष गरेर आएका महिलाका नामहरू उल्लेख गरिँदैनन् । माओवादीहरूका पुरुष ‘ब्रभाडो’ अहं प्रदर्शनहरूमा हिसिला यमीको नाम कहीँ पनि आउँदैन, पम्फा भुसालको नाम आउँदैन । कांग्रेसका जुँगाका लडाइँमा विद्वान् पुष्पा भुसालको नाम आउँदैन । गिरिजाबाबुको शून्य विरासत बोकेकी सुजाता कोइरालाको छाया नाम आइरहन्छ । अरू दलका धेरै काम र साधना गरेका महिलाका नाम आउँदैनन् । पूर्वएमालेकी योग्य र तीक्ष्ण राजनीतिक स्थिति आकलन गर्न सक्ने भए पनि अष्टलक्ष्मी शाक्यको नाम आउँदैन ।
अल्पमत र बहुमतमा बाँडिनेका गणपूरक नामहरूमा सबै पुरुष छन् । सबैभन्दा गम्भीर कुरा संविधान र दलका कानुनी व्यवस्थाले भने पनि माथिदेखि तलसम्मका महिला कोटा भए पनि तिनको पालना गरिएको छैन, उपेक्षा गरिएको छ । मैले भन्न खोजेको कसलाई ल्याउनुपर्थ्यो र ल्याइएन भन्ने होइन । त्योभन्दा अझ गम्भीर विषय हो । संक्षेपमा एकाध सिद्धान्तका चर्चा गरेर आफ्ना चिन्ता राख्न चाहन्छु । दुवै पश्चिमी छन् ।
आन्टोनियो ग्राम्ची भन्ने इटालेली मार्क्सवादी चिन्तक र लेखकले एउटा सिद्धान्त निकाले । त्यसलाई हेजिमोनी भनिन्छ । यो हेजिमोनी भन्ने विषय जटिल र सूक्ष्म छ । नेपालमा महिलाको राजनीतिक अवस्था पुरुषअनुकूल बनाउन प्रस्ट प्रयोग भएका छन् । पोपुलिस्ट शासन प्रणालीदेखि लिएर समावेशी भनिने राज्य प्रणालीहरूमा, समावेशहरू गरिएका छन्, सबै ठीकठाक छ भन्ने भावनाको सिर्जना गरेर अकण्टक शासन गरिन्छ । तर, पोपुलिस्ट आन्दोलनहरूले त्यसलाई भत्काएका उदाहरण अब धेरै भैसके । नेपालमा महिलाको राजनीतिलाई त्यही हेजिमोनीले पछाडि धकेलिदिएको छ । हेजिमोनी एउटा यस्तै सर्वस्वीकृतिको अवस्था हो । नेपालमा क्रान्तिहरूपछि महिलाहरूले संविधानद्वारा नै आफ्नो अधिकार परिभाषित गराए पनि ‘होइन, तपाईंहरूलाई ठीकै छ नि, सहभागी गराइएकै छ नि’ भन्ने अस्त्र राजनीतिक पुरुषहरूले सजिलै प्रयोग गरे । अनि महिलाहरूले यसै जिउनुको क्रममा नै त्यसलाई स्वीकृत गरेको अवस्था देखियो । महिला राष्ट्रपति त्यो हेजिमोनीले प्रभावित एउटी अर्की ठूली उदाहरण हुन् । उनले म सबैकी संरक्षक हुँ, त्यसमा पनि महिलाको क्रियाशीलता, राजनीतिकदेखि भावनात्मक सहभागितालाई एउटा लोकतान्त्रिक परिवेशभित्रैबाट कसरी प्रभावित गर्न सक्छु भन्ने कुरा नै बिर्सिइन्, त्यो हेजिमोनीको प्रभावले । उनले तिनै फाइल बोकेर कुद्ने गणपूरक ग्रन्थिले ग्रसित कमिनिस्ट पार्टी गुटका पुरुष नेताहरूलाई मिलाउन बोलाउने कर्ममा जुन समय दिएकी छन् त्यो नेपाली महिलाको राजनीतिको अलमलको द्योतक होइन भन्न सकिन्न ।
अर्को प्रसङ्गमा इमानुअल कान्टको सब्लाइम वा उदात्त सिद्धान्तको कुरा आउँछ । भावनाका उचाइ, कल्पनाका विशालता अनि त्यसलाई आकलन गर्न नसक्दा मनमा उब्जिने उदात्त वा सबलाइमका भावना त्यो दर्शनका विशेषता हुन् । तर, महिला विद्वान् एके मेलोरले ‘रोमान्टिसिज्म एन्ड जेन्डर’ (१९९३) मा लेखिन्, ‘नारी उदात्तता पुरुषले देखेजस्तो हुँदैन । यो व्यक्तित्वको उचाइ, शान्त अनि पुरुषको अत्याचारबाट मुक्त र आत्मसम्मानको चेतना हो ।’ मैले यो प्रसङ्ग ल्याउनुको एउटै अर्थ छ । नेपालका (भारतका त झन् धेरै) राजनीतिज्ञहरूले राजनीतिको उचाइ, क्रान्तिका सपना अनि ठूला दाबी गर्दा एकल रूपले पुरुष महिमाको सब्लाइम उच्चारण गर्छन् । माओवादी युद्ध र जनआन्दोलनकालमा उच्चारण गरिने भाषिकामा तिनै पुरुष सपनाका उदात्त भावना उच्चारण गरिन्छन् । दक्षिण भारतको भ्रमणमा प्रधानमन्त्री इन्दिरा गान्धीलाई मानिसले ढुङ्गा प्रहार गरे । नाकको चोट सारीको फेरले छोपेर उनले भाषण गरिन्, ‘नारीहरू किन सारीले मुख ढाकेर हिँड्छन् भन्ने कुरा मैले आज मात्र बुझें ।’ त्यो नारी सब्लाइम वा उदात्त चेतनाको अभिव्यक्ति थियो ।
आज नेपाली राजनीति बबन्डरभित्र छिर्दै छ । हामीले नाटक गर्दा रङ्गमञ्च मिलाउँदाजस्तै विभाजित हुने संघारमा पुगेका कमिनिस्ट नेताहरू शक्ति निःसृत हुने अर्थ मिलाएर कुर्सी राख्छन् । बिस्तारै एउटा मञ्चको परिवेशमा विसंगत नाटकमा जस्तो हिँड्छन् । कांग्रेसका नेता पनि त्यसै गर्छन् । फाइल च्यापेर हिँड्छन् । अर्कोथरी लौ केही भएकै छैन भनेर फ्रान्सेली दार्शनिक जाक डेरिडाले भनेजस्तै हिजोको इतिहासका ‘स्पेक्टर’ वा प्रेत बोकेर हिँड्छन् ।
यो सबै कुराले देखाएको सत्य यस्तो छ– यहाँ हेजिमोनीको स्थापना भएको छ । तर, त्यो आमरूपमा चुनौतीमा पर्नुअघि नै हेजिमोनीका रचनाकारहरूबाटै भङ्ग हुने संकेत देखिएका छन् । यस्तो बेलामा एउटा बलियो प्रतिरोधी शक्ति भनेको राजनीतिमा महिलाको उपस्थिति हो । तर, संविधान, आन्दोलन र परिवर्तनले दिएको भए पनि त्यो नै अलमलमा पर्दै गएको देखिएको छ । प्राध्यापक र नेतृ साहना प्रधानले बहुदलीय महिलाहरूलाई लिएर चलाएको अभियानको बेला मेरो प्रश्नको उत्तरमा भनेकी थिइन्, ‘यो दलीय संयन्त्रबाट मुक्त आवश्यक नारी अभियान हो । यो अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

Page 7
शनिबार विशेष

मातृत्व कहर

- सरस्वती प्रतीक्षा

 

फेवातालको किनारामा अवस्थित क्रेजी गेको रेस्टुरेन्ट । तालको छाल नजिकै बसे पनि कुराचाहिँ मनभित्रका छालहरूको गर्दै थियौं । भीडभाडको बीचमै थियौं, तर पनि भीडमा थिएनौं । पहिलो भेट थियो । पहिलो भेटमा हुनेजस्तो औपचारिकताचाहिँ कत्ति पनि थिएन हामीबीचमा ।
‘तिमीसित पहिलो भेट इस्तानबुलमा होला भन्ने अन्दाज थियो, जुन ठाउँमा तिम्रा थुप्रै गहिरा श्वास र निःश्वासका लिपिहरू छन् । इस्तानबुलमा नभए लन्डनमा भेट हुन्छजस्तो लागेथ्यो, जहाँ बसेर तिमी आफ्नो लेखन कर्म गरिरहेकी छौ । आज आफ्नै ठाउँमा यसरी सजिलै तिमीसत भेट हुँदा अझै नि पत्यार लागिरहेको छैन’, उमेरले आफूभन्दा ठूली भए पनि कुन्नि किन एलिफका निम्ति मेरो मुखबाट ‘तपाईं’ शब्द निस्कनै मानेन । उनले पनि मेरो ‘तिमी’ सम्बोधनलाई यसरी स्विकारिन्, मानौं हामीहरू कलेजकालीन मित्र हौं र तिमी–तिमी चल्नु एकदम सामान्य ।
‘सरस्वती, यो ठाउँमा आउँदा मलाई डेजाभू भइरहेछ । क्रेजी गेकोका ढुंगामाटोदेखि यहाँका रूखहरू, पातपतिंगरहरू सबसित चिरपरिचित छुजस्तो लागिरहेछ । यस्तो लाग्दै छ, म यही ठाउँमा बसेर पहिले पनि तिमीसित घण्टौं कुराकानी गरिसकेकी छु । आज हामी त्यही कुराकानीको पुनरावृत्ति गरेर ठ्याक्कै त्यही पललाई फेरि पुनर्निर्माण गर्दै छौं भन्ने भान भइरहेछ । यो डेजाभूले के–को संकेत गर्दै छ ? कतै हामी आफ्नै पुराना घटनाहरूको इन्स्टलेसन आर्ट त बनाइरहेका छैनौं यतिबेला ?’
गम्भीर स्वभावकी एलिफ सफाकको गम्भीरताको त म फिदा थिएँ नै सधैं । योपटक भने उनका रहस्यमयी कुराहरूले मलाई झनै हुरुक्क बनाउँदै थिए ।
‘पहिले केही अर्डर गरौं अनि कुरा गरौंला है ∕’, छेवैमा उभिएको वेटरलाई इंगित गर्दै मैले भनें । उनले मेनु नपल्टाईकन भनिन्, ‘दुई गिलास कालो दूध ल्याइदिनुस् न हाम्रा लागि ।’
वेटर छक्क होइन, महाछक्क गर्दै प्रश्नात्मक शैलीमा उभियो, ‘दुई गिलास कालो दूध रे ?? पक्कै पनि कालो चिया वा कफी भन्न खोज्नुभएको होला तपाईंले ।’
‘भन्न त मैले कालो दूध नै भनेकी हुँ, तर यो क्याफेमा कालो जे पाइन्छ, त्यही ल्याइदिनुस् हाम्रा लागि । कालो चिया, कालो कफी वा कालो रङको जुनसुकै खानेकुरा,’ एलिफको अर्डरमा फेरि एकपल्ट जिल्ल होइन, महाजिल्ल पर्दै फर्कियो वेटर ।
‘कालो दूध नपाए पनि आज तिमीसित बसेर कालो दूध अर्थात ब्ल्याक मिल्कको कुरा गर्न मन छ । तिमीले मेरो किताब ब्ल्याक मिल्क पढेकी छौ कि छैनौ सरस्वती ?’, उनी बल्ल आफ्नो खास स्वरूपमा आउँदै थिइन् ।
‘किन नपढ्नु ? पटकपटक दोहोर्‍याएर पढेकी छु । वर्षौंसम्म मैले उक्त किताबको हार्ड कपी पाइन्छ कि भनेर खोजेँ तर पाइनँ । अन्त्यमा केही उपाय नलागेपछि ब्ल्याक मिल्कको पीडीएफ भर्सन पढेकी हँॅ । प्रत्येकपटक उक्त किताब पढ्दा कतै न कतै त्यहाँ म आफैँलाई पाउँछु । पढ्दै गर्दा कहिले बिथोलिन्छु, कहिले गिजोलिन्छु’, मैले नुनिलो भाव पोखेँ ।
...र फेरि तुरुन्तै अर्कै भावमा प्रकट हुँदै भने, ‘एलिफ, पाइँदैन भन्ने जान्दाजान्दै वेटरसित कालो दूध अर्डर गरेकी थियौ । अब ब्ल्याक मिल्क अर्थात् कालो दूध किताबका बारेमा कुरा गरम् भन्दै छ्यौ । कालै टप्स, कालै लेगिन्स, कालै जुत्ता–अहिले पनि पूरै कालो ड्रेसअपमा छ्यौ । तिम्रो कालो रङप्रतिको मोह देखेर म त छक्कै पर्छु । तिमीले त इयुप क्यानसित बिहे गर्दासमेत असामान्य प्रस्ताव पो राखेकी थियौ हगि ? म त्यो देशमा गएर बिहे गर्न चाहन्छु, जहाँ दुलहीले बिहेमा सेतो लुगा लगाउनु पर्दैन भनेकी थियौ । कालै रङको लुगामा बिहे गर्ने तिम्रो रहरका कारण तिम्रो बिहेसमेत आफ्नो देशमा नभई जर्मनीको बर्लिनमा पो भएको थियो ∕’, कालो रङप्रतिको एलिफको मोहको कुनै व्याख्या नै सम्भव थिएन सायद ∕
‘अरूको नजरमा मात्र होइन, म आफ्नै नजरमा पनि एक असामान्य स्वास्नीमान्छे हुँ सरस्वती’, एलिफले गम्भीर हुँदै भनिन् ।
‘...र म असामान्य स्वास्नीमान्छेलाई प्रेम गर्ने अर्को एक असामान्य स्वास्नीमान्छे हुँ’, मैले थप गम्भीर हुँदै भने । त्यतिन्जेल हाम्रो टेबलमा कालो कफी पनि आइसकेको थियो ।
कालो कफी आवश्यकताभन्दा बढी नै कालो र तितो थियो, डबल सट अमेरिकानोलाई पनि जित्ने खालको । हाम्रो कुराकानी पनि त कहाँ गुलियो विषयमा हुँदै थियो र ?

वैचारिक समुद्र
‘मातृत्व सुखलाई हामीले सधैं यसरी अतिरञ्जित व्याख्या गर्‍यौं, मानौं मातृत्व र सुख एकअर्काका पर्याय हुन् । मातृत्वको सुखानुभूतिबिना एउटी नारी पूर्ण हुन सक्दिनसम्मका महान् वाणीले धेरै नारी कानहरूलाई प्रशिक्षित गराइयो युगौंदेखि । हरेक सुखको पछाडि कुनै न कुनै दुःखको कथा जोडिएकै हुन्छ । मातृत्व सुखका अधिकांश कथाका पछाडि दुःखका कथाहरूको फेहरिस्त हुन्छ । ती दुःखका कथाहरूलाई हामीले कहिल्यै उधिन्ने प्रयास नै गरेनौं है ?’, मैले कुराको मेलोलाई अगाडि सारें ।
मेरो कुराले एलिफलाई आफ्नै किताब ‘ब्ल्याक मिल्क’ को बाडुल्की झनै धेरै लाग्यो । भनिन्, ‘कतिपय किताबहरू केवल कल्पनाले लेखिन्छन् । कतिपय किताबहरू भावनाले लेखिन्छन् । कतिपय किताबहरू विचार वा दर्शनले लेखिन्छन् । ब्ल्याक मिल्कचाहिँ एउटा यस्तो ककटेल किताब हो, जहाँ मेरो मातृत्व, छटपटी, औडाहा, डिप्रेसन सबैलाई महिनौंसम्म एउटा कोठाको तापक्रममा राखेर निर्मलीकरण गरिएको छ । बच्चा जन्मेपछि रसाउने आमाको दूध त सेतो होला, त्यो दूधसँगै गुज्रनुपर्ने अनुभव र अनुभूतिको रङ अक्सर कालो हुन्छ ।’
‘तिमी त कहिल्यै बच्चा नै जन्माउन नचाहने स्वास्नीमान्छे थियौ । कुनै दिन आमा बनें भने राम्रो सौतेनी आमाचाहिँ बन्नेछु भन्ने तिम्रो अन्तर्वार्ता सुनेर तिम्रा पाठकहरू उदेक मान्थे । तिमीले झूटो अन्तर्वार्ता दिएर आफ्नै पाठकहरूलाई झुक्याएकी थियौ त्यसो भए ?’, भेटेर सोधुँला भनेर राखेका कतिपय प्रश्नहरूको पोको फुकाउँदै थिएँ म ।
‘संसारमा न पूर्ण सत्य भन्ने केही छ, न पूर्ण झूट नै । जसरी हर सत्य केवल अर्धसत्य हो, त्यसरी नै हर झूट अर्धझूट । आफैंले निर्माण गरेका तिनै अर्धसत्य र अर्धझूटका बीचमा पेन्डुलम बनेर बाँच्छौं हामी मान्छेहरू’, एलिफ अचानक दार्शनिक अवतारमा देखापरिन् ।
‘१. एक लेखक ।
२. एक ठाउँमा मात्र अडिएर बस्न नसक्ने फकिर अर्थात् एक सर्वदेशीय मान्छे ।
३. सुफिज्मको प्रेमी ।
४. शान्तिवादी ।
५. शाकाहारी ।
३५ वर्षको उमेरसम्म मैले आफूभित्रको स्वास्नीमान्छेलाई मैले यिनै पाँच भागमा बाँडेकी थिएँ । आफूलाई परिभाषित गर्नुपर्दा आफूभित्रका यिनै पाँच स्वास्नीमान्छेहरूको एक रूप हुँ भन्ने गर्थें । ३५ वर्षपछि अचानक इयुप क्यानसित भेट भयो । ऊसितको भेटपछि म आफ्नै अडानबाट चिप्लिएँ । चिप्लिएर लड्दा पनि पहिलोपटक खुसी लाग्यो र त्यो खुसीको कारण प्रेम थियो । बिहेको लागि बनेकै होइन म सोच्थेँ, ऊसित बिहे भयो । कहिल्यै आमा बन्दिन भनेर सोच्थेँ, अचानक एक दिन बिनायोजना आफू गर्भवती भएको थाहा पाएँ । मैले जानाजान कहिल्यै कसैलाई ढाँटिनँ । मेरो भीष्मप्रतिज्ञा इयुप क्यान भेट भएपछि पानीपानी भयो, त्योचाहिँ म कबुल गर्छु’, एलिफको जवाफमा कुनै मकुन्डो थिएन । मकुन्डोबिनाको उसको जवाफले भित्रैसम्म छोइएँ ।
‘आफू गर्भवती भएको थाहा पाएको दिन तिमीभित्रका पाँचवटा स्वास्नीमान्छेले पाँचथरीका प्रतिक्रिया दिएँ है ∕’, मेरो जिज्ञासाको हिमाल अग्लिई नै रहेको थियो ।
‘हो नि, आफू गर्भवती भएको थाहा पाएको दिन मभित्रको स्वास्नीमान्छे घबराहटपूर्ण तरिकाले खुसी भई । मभित्रको लेखक अचानक त्रसित बनी । मभित्रको सर्वदेशीय मान्छेले अन्तर्राष्ट्रिय बच्चाहरूको नामबारे सोच्न सुरु गरी । मभित्रको शान्तिवादी मान्छे प्रतिक्रियाविहीन भएर चुपचाप बस्दिई । मभित्रको सुफीले खबरलाई स्वागत गरी । मभित्रकी शाकाहारी मान्छेले अब मासु खानुपर्छ सोचेर चिन्तित भई’, एलिफको कुरामा जस्तै उसको अनुहारको भावमा पनि म एउटा मात्र भाव देखिरहेकी थिइनँ । थुप्रै भावहरूको मिश्रण देखिरहेथेँ । सोधेँ, ‘तिमीलाई आफूभित्रको लेखक मर्छ कि भन्ने डरले सबैभन्दा बढी सतायो है त्यतिबेला ?’
‘डरको ठोस कारण पनि थियो मसित । टर्कीमा बसेर लेख्थेँ, त्यो पनि उपन्यास । मेरो देशका अधिकांश पुरुष लेखकहरू महिलाका लागि, अझ कुनै पनि महिलाका लागि उनको सही तरिकाको उत्पत्ति र उत्थान उनको पाठेघरले गर्छ, दिमागले होइन भनेर सोच्छन् । आख्यान लेखनलाई त झन् पुरुषहरूको मात्र विरासत सम्झन्छन् । आख्यान लेखनका लागि तर्कसंगत बुनोट, दिमागी इन्जिनियरिङ र प्लटिङ चाहिने हुनाले र स्वास्नीमान्छेहरू स्वभावतः
भावुक हुने हुनाले कहिल्यै राम्रो उपन्यासकार बन्न सक्दैनन् भन्ने सोच राख्छन् । यस्तो सोच्ने चर्चित पुरुष लेखकहरू आफूलाई पिता उपन्यासकार मान्छन् । पिता उपन्यासकारहरूले आफ्नो मात्र ठानेको क्षेत्रमा छिरेर आफैंलाई स्थापित गर्न मनोवैज्ञानिक दबाब त हुन्छ नै । गर्भवती हुनु खुसीको कुरा भए पनि म मेरो पाठेघरको कारणले लेखनको दौडमा पछि पर्न चाहन्नथेँ । यसैले हड्बडाएकी थिएँ’, एलिफले नहड्बडाईकन आफ्नो कुरा सुनाइन् ।
‘कुनै शान्त टापुको रमाइलो घरमा बसेर बच्चा हुर्काउने र सँगसँगै लेख्ने पनि । तिम्रा योजना कति मनमोहक थियो नि पछिपछि त ?’, मुस्कुराउँदै सोधेँ मैले ।
‘सोचेको त त्यस्तै थिएँ । बच्चा हुर्काउने र लेख्ने काम सँगसँगै लैजाने सोच थियो । अचानक मलाई मेरा शब्दहरूले धोका दिए । लेख्न बस्थेँ तर शब्दहरूले मसित यसरी नाता तोडिदिएका थिए कि म अचानक शब्दविहीन हुन पुगेँ । जिन्दगीमा पहिलोपटक राइटर्स ब्लकको सिकार भएँ । एउटा लेखकसित उसका आफ्नै शब्दहरूले नाता तोडिदिनु सबैभन्दा बढी पीडादायक हुँदोरहेछ । त्यही पीडा सहन नसकेर म डिप्रेसनको बिरामी हुन पुगेँ । मातृत्वलाई केवल सुखसँग मात्र जोडेर हेर्नु भयंकर ठूलो भूल हो । बच्चा जन्मिँदैमा एउटी स्वास्नीमान्छे पूर्ण हुन्छे र उसको खुसीको सम्पूर्ण कारण त्यही बच्चा हुन्छ भन्ने सोचमै खोट छ । मातृत्व कहरको पाटोलाई किन कसैले ठीकसित परिभाषित गर्ने चेष्टा नै गर्दैन ? अचम्म लाग्छ’, एलिफले सुस्केरा हाल्दै सुस्केरायुक्त तर्क गरिन् ।
गम्भीर हुँदै मैले भनें, ‘बच्चाको कारणले लेखन रोकिएपछि तिमी डिप्रेसनमा गयौ । त्यो डिप्रेसनको अँध्यारो सुरुङबाट आफैंलाई निकालेर फेरि लेखनकर्ममा फर्कियौ तिमी । सबै महिला लेखकसित डिप्रेसनलाई जितेर अगाडि बढ्ने हिम्मत हँॅदैन । सम्भावना भएका धेरै महिला लेखक बिहेपछि अलिअलि र बच्चा जन्मेपछि पूर्ण रूपमा हराउनुका पछाडि मातृत्व कहरको कारण पनि हुन्छ, जसलाई बाहिरबाट मातृत्व सुखको लेपन लगाइएको हुन्छ र भनिन्छ– घरबारमै व्यस्त भएर फलानोले लेख्न छाड्दी ।’
मेरो कुरामा एलिफले पनि सहमतिको टाउको हल्लाइन् र भनिन्, ‘पाठेघर हाम्रो हो तर पाठेघरको नाममा गरिने राजनीति हाम्रो पक्षको राजतीति हुँदै होइन । त्यसैले ट्रेसीले ठीकै भन्छिन्– यदि महिलाले बच्चा चाहिनन् भने, त्यो आपत्तिजनक हुन्छ, यदि कुनै महिलाको धेरै बच्चा भए भने त्यो पनि आपत्तिजनक मानिन्छ, यदि कुनै महिलाले धेरै पुरुषहरूबाट बच्चा जन्माइन् भने त्यो पनि आपत्तिजनक मानिन्छ । जब प्रजनन रोजाइको कुरा आउँछ, एउटी महिलाले महिला हुनका लागि कुनै सही बाटो भेट्दिनन् ।’
‘तिमी त टर्कीमा जन्मियौ । टर्की यस्तो देश पनि हो, जहाँ अदालेट एगोलुजस्ता महिला लेखक पनि जन्मिइन् । बच्चा जन्मेपछि लेखनमा असर पर्छ भनेर जीवनभर बच्चा नपाउने निर्णय गर्न सक्ने आँट भएका कति अदालेट एगोलुजस्ता लेखकहरू होलान् यो संसारमा ? पाठकहरूबाट अतिशय प्रेम र अतिशय घृणा पाएकी आयन र्‍यान्डजस्ता लेखकहरूले पनि पाठेघरको बनिबनाउ मान्यतालाई सोझै चुनौती दिइन् र कहिल्यै बच्चा नजन्माउने र सम्पूर्ण रूपमा आफूलाई लेखनमा समर्पित गर्ने निर्णय गरिन् । पाठेघरको पुरानो परिभाषालाई नै च्यातेर खुल्लमखुला चुनौतीको हुंकार दिन सक्ने आयन र्‍यान्डजस्ता कति लेखकहरू होलान् है यो संसारमा ?’
हामी दुवै वैचारिक समुद्रमा डुबुल्की मार्दै थियौं । कहिले उनी बोल्थिन्, म सुन्थेँ । कहिले म बोल्थेँ, उनी सुन्थिन् ।
‘लेखक हुनलाई विशेषगरी महिला लेखक हुनलाई सन्तान र आफूबीचको मनोवैज्ञानिक दूरी तय गर्नु सबैभन्दा कठिन काम हो । लेख्नका लागि कहिल्यै बच्चा नै नजन्माउने निणर्य गर्दा पनि असामाजिक र चरम स्वार्थी भएको आरोप लाग्छ । अदालेट एगोलु र आयन र्‍यान्डजस्ता लेखकले जिन्दगीभर त्यस्तै आरोप खेप्नुपर्‍यो । अर्कातिर म्युरियल स्पार्कजस्ता महिला लेखकहरू पनि छन्, जसको अन्त्येष्टिमा समाजको एउटा प्रतिष्ठित तप्का नै उल्टिएर आयो– पत्रकारदेखि राजनीतिज्ञसम्म, लेखकहरूदेखि व्यापारी, व्यवसायीहरूसम्म । दुःखको कुरा, उनकै एक मात्र सन्तान आमाको अन्त्येष्टिमा आएन किनकि उसको आरोप थियो, ‘लेख्नका लागि आफ्नो स्पेस खोज्ने म्युरियलजस्ती आमा एक स्वार्थी आमा हुन् ।’
‘मातृत्व कहरका कथाहरूले वाक्क भएर सान्ड्रा सिसनेरोसजस्ता लेखकहरू आफूलाई नोबडिज मदर र नोबडिज वाइफ भनेर खुल्लमखुला घोषणा गरिरहेछन् ।’
‘अहिलेको समय भनेको मातृत्वका पुरातन मान्यताहरूले कोल्टे फेर्न लागिरहेको समय पनि हो । एक त बिहे नै नगर्ने, बिहे गरे पनि कहिल्यै बच्चा नजन्माउने निर्णय गर्न सक्ने थुप्रै महिलाका कारण मातृत्व अनिवार्य कुरा नभएर ऐच्छिक कुरा हो भन्ने मान्यता स्थापित हुँदै छ । यस्तोमा बीबीसीले त फरक कोणबाट एउटा कार्यक्रम नै सुरु गर्‍यो, ‘डाइभर्स मदर हु रिग्रेट्स ह्याभिङ चिल्ड्रेन’ शीर्षकमा । एकदमै विवादास्पद तर फरक खाले वैचारिक मोर्चा खडा गर्न सफल उक्त कार्यक्रममा थुप्रै महिलाले सन्तानका कारण अवरुद्घ आफ्नो करियरका कुरा उठाए, बच्चा हुर्काउँदाको जटिलता र आफूमा देखा परेको मानसिक विचलनको प्रसंग कोट्याउँदै सन्तान जन्माउने निर्णय गरेकोमा पश्चात्तापमा परेको खुल्लमखुला उद्घोष गरे ।’
हामी दुवै निरन्तर वैचारिक समुद्रमा डुबुल्की मारिरहेका थियौं । निरन्तर संवादका बीचमै पनि घरीघरी आफैंले भोगेको मातृत्व कहरको कालो कथा सम्झेर आङ सिरिंग भइरहेको थियो । मलाई मेरै मनले प्रश्न गर्दै थियो– तैँले आफ्नो मातृत्व कहरको कथा कहिले सुनाउँछेस् ?

अवतरण
स्थान उही थियो अर्थात् क्रेजी गेको । वेटर उही थियो, वेटरको ड्रेसअप उही थियो तर वेटरको हातमा ब्ल्याक कफी नभई मिल्क कफी थियो ।
‘दिदी, तपाईंको दोस्रो कप कफी पनि आइपुग्यो है ∕ तपार्इं आफैँमा डुबेर यति धेरै बेर टोलाएर बस्नुभयो कि मलाई तपाईंको मौनतामा डिस्टर्ब गर्न मन लागेन । बरु त्यही मौका छोपेर ताल र चराहरूको २, ४ वटा फोटो पो खिचेर आएँ म त ∕’ सामुन्नेमा एलिफ सफाक होइन, राधिका कँडेल थिइन् । उमेरले बैनी तर बैनी कम, साथी बढी ।
राधीसित पहिले पनि यो ठाउँमा म धेरैपटक कफी पिउन आइसकेकी छु । ऊसितको चाखलाग्दो कुरा के भने फगत एक कप कफी पिएर राधीसित म घण्टौं समय बिताइदिन सक्छु । बोल्न पनि पर्दैन हामीलाई एकअर्कासित । चुपचाप वरपरको प्रकृतिको आनन्द लिएर हामी एकअर्काको साथ इन्जोय गर्न सक्छौं ।
अघिसम्म जुन टेबलमा बसेर म एलिफ सफाकसित कुरा गर्दै थिएँ, त्यही टेबुलमा अहिले राधी थिइन् । म न पूर्ण यथार्थमा थिएँ, न पूर्ण कल्पनामा । यथार्थ र कल्पनाको बीचमा कतै झुलिरहेकी थिएँ ।
भर्खरै एलिफसित मातृत्व कहरका विषयमा कुरा भएको थियो । मेरैसामु एउटी यस्ती युवती थिइन्, जो कहिल्यै बिहे नगर्ने, बच्चा नपाउने प्रण गरेर बसेकी थिइन् । बाँच्नलाई सम्बन्धको थाक्रोमा झुन्डिनैपर्ने र देखाउनका लागि भए पनि साथमा लोग्ने हुनैपर्छ भन्ने सोच्ने हाम्रोजस्तो समाजका लागि राधी खुला चुनौती हुन् । भर्भराउँदो उमेरमा एक्लो बाँच्न सक्छु भन्ने सोच राख्न सानोतिनो आँटले पुग्दैन । ‘जरुर साथी म सिंगल’ भन्दै कसैकी बुहारी होइन, छोरी नै भएर मर्न चाहन्छु भन्ने शिक्षा रिसाल र शिक्षा रिसालहरू जन्मिरहेको समय हो यो ।
‘दिदी, लगातार दुईवटा बच्चा जन्माएकी मेरो एउटी पत्रकार साथी घनघोर डिप्रेसनमा छिन् अचेल । सधैं फिल्डमा रिपोर्टिङ गर्न हिँड्ने एउटी निडर र साहसी पत्रकार कसरी यति कमजोर र असन्तुलित भइन् ? मैले त कुरै बुझिरहेकी छैन । आजकल त चरम निराशामा कहिले आफैंलाई र कहिले आफ्ना बच्चाहरूलाई चिथोर्ने, कोपर्ने गर्छिन् रे’, बिनाप्रसंग राधीले डिप्रेसनको अमिलो कथा सुनाइन् । छक्क परेँ– एक छिनअघिसम्म म एलिफसित मनमनै मातृत्व कहरकै सन्दर्भमा संवाद गर्दै थिएँ भन्ने राधीलाई टेलिप्याथी त भथेन ?
टर्कीकी एलिफ सफाक हुन् कि नेपालकै आइतीमाया विक, मातृत्व कहर धेरै स्वास्नीमान्छेहरूको साझा व्यथा हो । बाहिर आए पनि, नआए पनि मातृत्व कहर घर–घरको कथा हो ।
(एलिफ सफाकको किताब ‘ब्ल्याक मिल्क’ मा आधारित)

शनिबार विशेष

दाउरा

- अमृता स्मृति


म दाउरा
इज्जत ढाक्ने तिम्रो आागनको बार बनूा
तिम्रा बूढा बा–आमाको टेक्ने लौरो बनूा
धुरीखााबो बनूा र थामूा कुल Û
खरिपाटी बनूा
जहाा तिमी लेख्नू जीवनका सुमधुर गीतहरु
आाखीझ्याल बनूा
जहाा तिमी आड लिनू र हेर्नू दुनियाा ।

म दाउरा
फ्रेम बनूा
र, सजाउादै तिमीलाई आफूभित्र
तिम्रै मझेरीमा अपलोड गरुा
जहाा प्रेमका वर्षातहरुले लभ रियाक्ट गर्न सकून् ।
एक बलवान् थााक्रो बनूा
जहाा तिमी झाागिनू
फलाउनू कुनै हाागामा अहिलेसम्म फल्न नसकेको फल ।

म दाउरा
झुक्किएर पनि बनाउन नखोज्नू बिाड
जहाा मैले नाङ्गो तरबार नाच्नुपरोस्
र, तास्नुपरोस् तिम्रो सभ्यता ।
बनाउन नखोज्नू दराज
जहाा लुकाउनुपरोस् रहरहरु
र, ढुसी लाग्नुपरोस्
नघचेट्नू आगोमा
बनाउन नखोज्नू समिधा
जुन दिन लम्बाइ मेटिादै खरानी हुनेछु
धमिलिनेछ तिम्रै आकाश ।

शनिबार विशेष

शीतल निवासको गर्मी

- कान्तिपुर संवाददाता


निर्भीकजंग रायमाझी
देहातको खलिहानमा जस्तै
मान्छे डढाउने गर्मी छ
शीतल निवासमा Û

(नेपालगन्ज, वीरगन्ज र अमलेखगन्जतिर बरू
खुब ठन्डा छ मौसम
तर, महाराजगन्जको शीतल निवासचाहिँ
सधैं रापमा छ Û)

गर्मी चढेको हो कि ज्वरो
सधैं तातिरहेको हुन्छ
शीतल निवासको चौघेरो

यसरी शिरमै ज्वरो चढेपछि
तात्छन् शरीरका अंग–प्रत्यंग
सायद, यहीँको ज्वरो सरेपछि नै
पसिना आइरहेछ दोलखा भीमसेनको
र, उल्टै सातो गइरहेछ–
पसिनाकै सर्बत पिउनेहरुको

ढोके, बैठके र छाता ओढाउनेहरु छन्
स्वयंसेवक, अर्दली र वैद्यहरु छन्
एसी, पंखा र वातानुकूलन छन्
तैपनि शीतल निवास उष्ण छ Û

वास्तुविद्ले धोका खायो कि नाम जुराउनेले ?
शीतल निवास त, छहारी हुनुपर्ने देशको
हजारौं पाइतालाले नाच्न पाउने
आँगन हुनुपर्ने देशको

दक्षिणको हावा चल्यो कि
उत्तरको सिरेटोले हान्यो
कामज्वरो पनि यतैतिर छ

अहो Û कोतपर्वको नाटक लिएर
यो खाल्डोमा कोही पसेको छ
शीतल निवासको गर्मीले
देशमा लू चलेको छ Û

Page 8
शनिबार विशेष

दास मुक्तिको ओडिसी

सत्यदेवको अगुवाइमा मोक्षनगरका निम्ति जमिन खोज्न हिँडेको यात्रा पढ्दा कतै लेखकले कवि होमरले झैं नयाँ ओडिसी सिर्जना गरेको हो कि भन्ने भान पर्छ । यसर्थ नेपाली उपन्यासको नक्सामा मोक्षभूमिको ठाउँ स्पष्ट र जब्बर छ भन्नेमा मेरो दृढ मत छ ।
- नारायण ढकाल

नेपाली राजनीतिको पुनर्गठन विषयमा अलग्गै किसिमले अभिमत राख्दै आएका केशव दाहाल अब आख्यानकारको नयाँ अवतारमा प्रकट भएका छन् । उनको उपन्यास ‘मोक्षभूमि’ किताब पब्लिसर्सले असोज २०७७ मा प्रकाशित गरेको छ । यो किताबमा देखिएको उनको छवि राजनीतिक टिप्पणीकारको भन्दा धेरै भिन्न छ । राजनीतिक चिन्तनमा उनी समसामयिक समस्यामा एकाग्र छन् भने मोक्षभूमिमा उनले सुदूर अतीतको कथा बुनेका छन् ।
कोरोना भाइरसले आतङ्कित पारेको यो समयको एक दिन, लगभग एक महिना जति अघि, लेखक केशव दाहालसँग मेरो छोटो भेट भएको थियो । मैले सोधेको थिएँ, ‘के ’मोक्षभूमि’ ऐतिहासिक उपन्यास हो ?’ उनले भनेका थिए, ‘होइन, यो विशुद्ध कथा हो ।’ जब मैले उपन्यास पढ्न थालेँ तब मलाई एकपछि अर्को गरी तथ्य र आख्यानका दुइटै पहाडले किच्न थाले । कतै तथ्यको नजिकनजिकजस्तो र अनि आख्यान त आफैंमा भइहाल्यो ।
उपन्यासको सुरुको वाक्य यसप्रकार छ– ‘संवत् १२९०, भदौ महिनाको तेस्रो शुक्रबार ।’ यस्तै मिति जनाउने अर्को वाक्य पनि छ अध्याय ३ को सुरुमा– ‘संवत् १२८०, शरद ऋतुको पहिलो दिन ।’ यी दिन शाके, नेपाल, इस्वी वा विक्रम कुन संवत्का हुन् स्पष्ट नभए पनि यिनले पाठकका निम्ति सुदूर इतिहासको समय बुझाउने विम्ब र अवधारणा निर्माण गर्छन् । यस्तै इतिहासमा उल्लिखित सिंजा, त्यहाँका राजा क्राचल्ल र उपन्यासमा वर्णित क्राचल्लदेवको विशेषतामा मेल हुने केही सन्दर्भ छन् । क्राचल्ल बौद्धमार्गी र धार्मिक सहिष्णुताका पक्षधर हुन् । उनले आफ्नो शासनकालमा कुमाउँ आक्रमण गरेर त्यहाँ आधिपत्य स्थापना गरेका थिए । उनले विक्रम संवत् १२६४ देखि १२८० सम्म राजपाठ चलाएको इतिहास छ । यस्तै उपन्यासको प्रधान पात्र क्राचल्लदेव पनि बौद्धमार्गी भएको र उनले आफ्नी कान्छी रानी अप्सराका निम्ति प्रेम उपहार दिन कुमाउँमाथि आक्रमण गरेर कब्जामा लिएको कथा छ । उपन्यासमा इतिहासको झल्को दिने केही छाया पात्रहरू पनि छन्, जस्तै ः मधुमालती, छ्वानदेन र भय मल्ल । तिनले क्रमशः हाम्रो इतिहास र वंशावलीमा वर्णित भृकुटी, स्रङ्चन गम्पो र अभय मल्लको झझल्को दिन्छन् ।
यति हुँदाहुँदै पनि लेखक आफैंले भनेझैं यो ऐतिहासिक उपन्यास होइन । यो सामाजिक किताब हो, तथापि यसको स्थापत्य इतिहासबोधको जगमा चाहिँ बनेको छैन । त्यो विशेष समयमा (संवत् जेसुकै होस्) क्राचल्लदेवको सिंजा दरबारले कसरी दस हजार दासहरूलाई मुक्त गर्‍यो र मुक्ति पाएका दासहरूमध्ये नौ हजारका अगुवा सत्यदेवको नेतृत्वमा कसरी मोक्षनगरको निर्माण भयो भन्ने जिज्ञासाको उत्तर नै यो किताबको मेरुदण्ड हो । मोक्षनगरको निर्माणपछि गरिमामय मानवीय सभ्यता निर्माणहेतु उदात्त मूल्यहरूको स्थापनार्थ लेखकले राखेका आग्रह नै उपन्यासका अन्तरवस्तु हुन् । पुस्तकको गाताको पछाडि पनि स्पष्ट लेखिएको छ– ‘कष्टको पिँजडाबाहिर आउन मान्छेहरूको तीव्र छटपटी र तिनै कष्टहरूको जन्जिरबाट फुत्किएका दासहरूको सयौं वर्षअगाडिको कथा हो यो ।’
लेखक दाहालले इतिहासबाट बहिर्गमन गर्ने र कथा लेख्ने विषयमा उपन्यासको पहिलो र दोस्रो अध्यायमा रोचक घटना प्रस्तुत गरेका छन् । मोक्षनगर बनेपछि नगरसभाले स्वरदेव नाम गरेका लेखकलाई दासहरूको इतिहास लेख्ने जिम्मा दियो । तर, जब स्वरदेव लेख्न बस्यो उसले इतिहास होइन कथा लेख्ने निर्णय गर्‍यो । स्वरदेवमार्फत लेखकले पुस्तकको पृष्ठ आठमा भनेका छन्, ‘यो इतिहास होइन, इतिहास र कथाबीच सानो सिमाना हुन्छ ।’
एक साताभित्र पढिसिध्याउने लक्ष्य राखेर पढ्न बसको थिएँ तर किताब समातेपछि प्रस्तावित लक्ष्य भत्कियो । पढ्न थालेपछि अरू काम गर्नै मन लागेन । फलस्वरूप ः दुई दिनका लामा दुई बसाइमा पढिभ्याइयो । किताब पढेपछिको मेरा केही संक्षिप्त निष्कर्ष छन्– पहिलो, लेख्नुअघि लेखकले सामग्रीहरूको संग्रहमा धेरै मिहिनेत गरेको देखिन्छ । मूलतः एउटा लेखकले उपन्यास लेखनलाई लहडको सतही विषय नबनाएर एउटा प्राज्ञिक चेष्टाको विषय बनाउन खोजेको स्पष्ट बुझिन्छ । दोस्रो, उपन्यासको मूल स्वभाव पौराणिक वा दार्शनिक नभए पनि तत्ससम्बन्धी सामग्रीको प्रचुरता पाइन्छ । यसैले उपन्यास पढ्दा कतै पुराण, कतै स्वतन्त्रताको जयगान र कतै दर्शनको उत्तेजक स्पर्शबोध हुन्छ । अभयनाथ, ब्रह्मानन्द, राजगुरुजस्ता पात्रहरूको अद्वैत, शून्य र मोक्ष विषयक बहस निकै रोचक छ । तेस्रो, सत्यदेवको अगुवाइमा मोक्षनगरका निम्ति जमिन खोज्न हिँडेको यात्रा पढ्दा कतै लेखकले कवि होमरले झैं नयाँ ओडिसी सृजना गरेको हो कि भन्ने भान पर्छ । यसर्थ नेपाली उपन्यासको नक्सामा मोक्षभूमिको ठाउँ स्पष्ट र जब्बर छ भन्नेमा मेरो दृढ मत रहेको छ ।
लेखकले भनेझैं इतिहासमा कथा नरहे पनि कथामा इतिहास रहन्छ । हिन्दीका समीक्षक मैनेजर पाण्डेय पनि भन्छन्, ‘आख्यानमा चित्रण गरिएको मानिस ऐतिहासिक व्यक्ति हुन्छ । ऊ इतिहासबाट बन्छ र इतिहासलाई बनाउँछ ।’ ‘पहल–७७’ नामक पत्रिकामा प्रकाशित ‘उपन्यास र लोकतन्त्र’ शीर्षकको लेखमा उनले प्राज्ञ मिसेल जेरेफाको एउटा भनाइ उद्धृत गरेका छन् । मिसेल भन्छन्, ‘उपन्यासको पाठमा चित्रित मानिस एक्लै बाँच्न सक्दैन । उसको एउटा अतीत, एउटा वर्तमान र एउटा भविष्य हुन्छ । इतिहासले प्रमाणित गर्छ– इतिहास नभई समाज हुँदैन र समाजबिना पनि इतिहास हुँदैन । उपन्यास यस्तो कला हो जसले ऐतिहासिक र सामाजिक रूपले परिभाषित मानिसलाई पुनर्प्रस्तुति गर्छ ।’
यही आलोकमा मोक्षभूमि पढ्दा उपन्यासकार दाहालले अपनाएका केही विषयले भने मेरो मथिङ्गल हल्लायो । विशेषगरी विषयवस्तु, संरचना, पात्रहरूको विकास, कथाको मार्गचित्र र परिवेशको विश्वसनीयताको सवालमा म धेरै दिन अलमलिएँ । जब लेखक भन्छन, ‘कथा इतिहास पनि हो’ भने ‘मोक्षभूमि’ को कथामा हाम्रो कुन इतिहास आयो ? कुन समयका पात्रहरू आए ? कुन समयको सामाजिक द्वन्द्वको चित्रण गरियो ? यी प्रश्न अहिले पनि मेरो टाउकोबाट बाहिरिन सकेका छैनन् ।
दास व्यवस्था मानव इतिहासको एउटा दुःखान्त कलंक हो । यो कलंक विश्वका सबै समाजमा विभिन्न रूपमा घटेको थियो । तर, चीन र दक्षिण एसियामा प्राचीन रोम वा ग्रीसको जस्तो दास व्यवस्था थिएन भनेर धेरै इतिहासकारहरूको अभिमत छ । यस्तो भन्नेमा जवाहरलाल नेहरू एक हुन् । उनको इतिहासको किताब ‘विश्व इतिहासको झलक’ मा यो विषय छ । त्यस्तै रोम वा ग्रीसको दास व्यवस्थाको सापेक्षतामा आर्यावर्त भनिएको भारतीय उपमहाद्वीपले दासहरूमाथि धेरै उदार र मानवीय व्यवहार गरेको देखेर युनानी दूत मेगस्थनिजले छक्क पर्दै भनेका थिए, ‘भारतीय उपमहाद्वीपमा एक जना पनि दास छैनन् ।’ मेगस्थनिज इपू ३०२ मा चन्द्रगुप्त मौर्यको समयमा पाटलीपुत्र आएका थिए । उनले लेखेको यात्रा वर्णनको पुस्तक ‘इन्डिका’ मा यो भनाइ छ भनी युनानी इतिहासकारहरू भन्छन् ।
दास शब्दको प्रयोग वैदिक साहित्यमा आर्यहरूका विरोधी मूल निवासीहरूका लागि भएको छ । यसबाट बुझिन्छ, आर्यसित युद्धमा हारेका बन्दीलाई पछि सेवा–काममा लगाइएको हो । दासलाई दानमा लिने पनि उल्लेख पाइन्छ । पछि गएर केही आर्यहरूको अवस्था पनि दासको जस्तै भयो । बौद्ध साहित्यमा पनि दासहरूको उल्लेख पाइन्छ । त्यहाँ तीन किसिमका दासको वर्णन छ । स्वामीको घरमा जन्मिएको, धनले किनिएका र युद्धमा जितिएका । अझ मनुले सात किसिमका र नारद स्मृतिले पन्ध्र प्रकारका दास रहेको वर्णन गरेका छन् (भारतीय संस्कृति कोश ः लीलाधर शर्मा पर्वतीय) ।
यस्तै अठारौं शताब्दीमा युरोपका केही देश र अमेरिकाले अपनाएको जस्तो क्रूर र मानवद्वेषी दासप्रथा दक्षिण एसिया र नेपालमा थिएन । बरु यहाँ त्यत्तिकै स्तरको अमानवीय र प्रतिगामी वर्णव्यवस्था थियो, जसका कुरूप झाँकीहरू अहिलेसम्म पनि हाम्रो समाजमा विद्यमान छन् र तिनले हामीलाई हरदिन कोतरिरहेका छन् ।
नेपालमा दासप्रथाको जन्म र अवसानबारे त्यति विस्तृत खोज र अनुसन्धान भएको छैन । दासमोक्षका पछिल्ला केही घटना इतिहासमा लिपिबद्ध छन् । एउटा विसं १९८१ मार्ग १४ गते श्री ३ चन्द्रशमशेरले गरेको दासप्रथा उन्मूलन र अर्को विसं २०५७ र २०७० मा क्रमशः भएका कमैया र कमलरी प्रथाको अन्त्यको घोषणा । यीबाहेक काठमाडौं उपत्यकामा शंखधर साःख्वाले बालुवालाई सुन बनाएर जनताको ऋण तिरेको आहान इतिहासजत्तिकै बलवान छ । यो वंशावलीमा आधारित किंवदन्तीमा शंखधरले दासको ऋण तिरे/नतिरेको विषय भने स्पष्ट छैन । चन्द्रशमशेरले चाहिँ ६० हजार दासलाई मुक्त गरेका थिए । यसबापत ३६ लाख ७० हजार रुपैयाँ खर्च भएको थियो । त्यो पैसा पशुपतिनाथको गुठीबाट झिकिएको थियो । मुक्तहरूलाई भिक्षाखोरी अर्थात् हालको अमलेखगन्जमा पुनःस्थापना गरियो ।
क्राचल्लदेवले दासहरूलाई मुक्त त गरे तर उनीहरूको पुनःस्थापनाचाहिँ किन गरेनन् ? खट्किने प्रश्न छ । विपुल उदारवादी सोचका धनी र प्रेमका उद्भट उपासक क्राचल्लदेव के राणा चन्द्रशमशेर जत्ति पनि अग्रगामी थिएनन् ? कान्छी रानीलाई उपहार दिन कुमाउँ आक्रमण गरेर जित हासिल गरेको लगत्तै युद्धप्रति प्रदर्शित उनको विरक्तिले दासमोचनतिर उनको अग्रसरता बढाएको छ । युद्ध र विजयमा गौरवान्वित रहँदै बाँचेको एउटा राजालाई मन पर्ने कान्छी रानीको पहिलो प्रतिक्रियाले एकाएक युद्धविरोधी खेमामा पुर्‍याउनु स्वाभाविक नभएर थोपरिएको जस्तो लाग्छ । यस्तै सिंजा दरबारको शक्तिसित जोडिएको राजा र युवराजमाझको कलह दरबारको कलहजस्तो नभएर सामान्य मानिसको घरझगडाजस्तो देखिन्छ । यी कार्यव्यापारमा क्राचल्लदेव र उनका विपक्षीहरूका शिथिल भूमिकाले उनलाई प्रखर र विश्वसनीय पात्र बन्न दिएको छैन । बरु राजाको तुलनामा दासविमोचनको विरोधमा रहेका राजगुरु आर्यदेव जीवन्त लाग्छन् । उनको चरित्रचित्रणमा भने स्वाभाविक गति पाइन्छ ।
उपन्यासका अन्य महत्त्वपूर्ण पात्रहरू जस्तै राधा, ताम्रा, सत्यदेव, कृष्णदेव, भार्गदेव आदिहरू पनि उनीहरूको आफ्नो कार्यव्यापारले भन्दा अधिक वर्णनको चापमा थिचिएर राम्ररी हिँड्नसमेत नसकेका जस्ता लाग्छन् । उदाहरणका लागि के–के गुण भएर सत्यदेव मुक्त दासहरूको नायक भए उनको व्यवहारले बताउँदैन । यस्तै राधा–कृष्णदेव र दमयन्ती–भार्गदेवको प्रेमलाई किन गहिराइमा पुर्‍याउन लेखकले कञ्जुस्याइँ गरे, मैले पहिल्याउन नसकेको अर्को पहेली हो । भार्गदेव र कृष्णदेवको कूटनीतिक यात्राको अभिधार्थ र प्रयोजन पनि केका लागि ? त्यसको प्रतिफल खोइ ? यसप्रकारका अरू प्रश्न पनि छन् । अब यसपछि मेरो खुलदली अरू बढ्छ र सबाल बन्छ– के कलासाधकले पुरानो समयको कथा लेखे पनि कलात्मक प्रतीक, ध्वनि र विम्बद्वारा अहिलेको नेपाली समाजको संकट र छटपटीबाट पुनर्गठनतिर जानुपर्ने यात्रा र गन्तव्यलाई संकेत गर्नु पर्दैन ? यस्ता प्रश्नले प्राज्ञिक र सौन्दर्यशास्त्रीय बहसको माग गर्छन् ।
उपन्यास निकै जोखिम र चुनौती भएको साहित्यिक विधा हो । साहित्यिक अनुशासनका अन्य विभागको तुलनामा उपन्यासभित्र कला र सामाजिक विज्ञानका धेरै सङ्काय समेट्न सकिने सम्भावना रहन्छ । यही कारणले पनि उपन्यासलाई मानव सभ्यताको पछिल्लो युगको गद्य महाकाव्य भनिएको हो । यो विधामा कथा भन्नुभन्दा कथा देखाउनु ठीक हुन्छ भन्ने स्थापित मान्यता छ । यस विषयमा अर्को मान्यता पनि छ– जीवनको गूढ र गम्भीरतम दर्शनलाई समेत सजिलो तरिकाले भन्न सक्नु । तर, लेखकको बौद्धिक पहलमानीको उचाइ निकै अग्लो भएर पनि यो मान्यताको प्रयोग ‘मोक्षभूमि’ मा धेरै कम मात्रामा भएको छ । सायद यो विशेषता उपन्यासकार दाहालको मात्र एकल समस्या नभएर हाम्रो समग्र औपन्यासिक इतिहासको पनि सीमा हो कि ?

शनिबार विशेष

जता पनि योग्य

‘पहिले पार्टी प्रवेश गरें, अनि श्रीमतीलाई मन्त्राणीसँग मीत लगाइदिएँ । यति भएपछि जीएम बन्न धेरै दिन लागेन ।’
- शरच्चन्द्र वस्ती

उदेक मान्नुपर्ने त केही थिएन, तैपनि ढोलकबहादुरको कुरा सुनेपछि मेरो मुखबाट निस्कियो, ‘तँ त उदेककै मान्छे रैछस्, यार !’
‘हा हा हा...’, ऊ धक फुकाएर हाँस्यो, ‘के नयाँ कुरा भो त ? आफ्नो भविष्य कसले हेर्दैन ?’
कुरा शुरूदेखि नै शुरू गरौं होला । आजको अधबैंसे ढोलकलाई म जुँघाको रेखी बस्तादेखि नै चिन्दछु । क्याम्पसमा एक वर्ष जुनियर थियो, तर तँतँ–ममको साथी । पढाइलेखाइमा मठ्ठु, तर मान्छे पट्याउन माहिर । खेलकूद भनेपछि बाह्र हात पर भाग्थ्यो, तर बाउले गाउँबाट पठाइदिएको भन्दै असनमा किनेको घीउ प्रशिक्षकलाई खुवाएर पोखरा घुमेर आयो— खेलकूद टोलीको ‘असिस्टेन्ट म्यानेजर’ का रूपमा ।
क्याम्पस सकेर म एनजीओमा काम गर्न थालें र चार वर्षपछि एउटा संस्थाको अध्यक्ष बनें । कुर्सी सम्हालेको एक हप्ता पनि बित्न पाएको थिएन, ऊ टुप्लुक्कियो र भन्यो, ‘म पनि जागीर खानुपर्‍यो यार । तेरो अफिसमा जनसम्पर्क अधिकृत बना न ।’
‘त्यस्तो पद नै छैन त’, मैले असमर्थता जनाएँ ।
ऊ निराश भएन । कुरा गर्दै जाँदा थाहा भयो, एउटा संस्थानको जीएम बन्न दुई महीनादेखि एक जना मन्त्रीको चाकरीमा धाइरहेको रहेछ । यसैबीच एउटा आईएनजीओमा दक्षिण एशियाको निर्देशक बन्न पनि फारम भरेको रहेछ । एक जना नेताको नाम लिएर भन्दैथियो, ‘त्यसको एक फोन लगाउन पाए त जागीर फरकै पर्ने थिएन ।’
फुच्चे गैरसरकारी संस्थाको जनसम्पर्क अधिकृत, सरकारी संस्थानको जीएम र अन्तर्राष्ट्रिय संस्थाको निर्देशक पदका लागि एकैचोटि प्रयास गरिरहेको त्यो मान्छेलाई देखेर म जिल्ल परेको थिएँ । र, भनेको थिएँ, ‘तँ त अचम्मकै मान्छे रैछस्, यार !’
उसको भनाइ थियो, ‘के फरक पर्छ ? जहाँ जहाँ पाइन्छ, त्यहीं त्यहीं जागीर खाने त हो नि ।’
छ महीना पछि म कतै जाँदैथिएँ, पहेंलो नम्बर प्लेटको एउटा कार नजीकै आएर रोकियो र ठूलो स्वरमा ‘जय नेपाल’ भन्दै त्यसबाट ढोलक ओर्लियो । उसको हुलिया पूरै बदलिएको थियो— सेतो कुर्ता–पाइजामा, कालो चप्पल र कालो चश्मा । ताकेकै संस्थानको जीएम भएछ ।
‘बाटोमा के कुरा गर्ने ? जाऊँ मेरो अफिसमा, चिया खान’, उसले मलाई गाडीमा चढायो ।
चिया आएपछि मैले सोधें, ‘गजब गरिछस् त । मन्त्रीलाई कसरी पट्याइस् नि ?’
‘दुइटा काम गरें । पहिले कांग्रेस प्रवेश गरें, अनि श्रीमतीलाई मन्त्राणीसँग मीत लगाइदिएँ । यति भएपछि जीएम बन्न धेरै दिन लागेन ।’
त्यसपछि तीन वर्ष ऊसँग भेट भएन । न उसले मलाई खोज्यो, न मैले उसलाई खोजें । एकैचोटि चितवनमा भेट भयो । त्यो पनि हात्तीमा चढेको बेला । मजस्तै ऊ पनि सपरिवार निकुञ्ज घुम्न आएको रहेछ ।
‘कस्तो चल्दैछ त जीएमगिरी ?’ साँझ मैले जिस्क्याएँ ।
ऊ जीएमको कार्यकाल सकिएर दुई महीना अघि सुकुम्बासी आयोगको सदस्य नियुक्त भएको रहेछ । भन्यो, ‘काठमाडौंमा ४० रोपनी जति जग्गा जोडियो । अरू खासै कमाउन सकिएन । अब पीएचडी गर्न लाग्या छु ।’
‘धाक नदे’, म हाँसें, ‘एमए त पास गर्न नसकेर सर्टिफिकेट किनेर ल्याइस् । तैंले पीएचडी गर्ने ?’
‘नाम दर्ता भैसक्यो । अब हेर्दै जा न’, ऊ ढुक्क थियो, ‘युनिभर्सिटीकै एउटा प्राध्यापकलाई दुई लाखमा ठेक्का दिएको छु । छ महीनामा थेसिस तयार हुन्छ । भाइभा–साइभा मिलाउन अरू एक लाख लाग्ला । त्यति त हो । एक वर्ष भित्रमा डिग्री हात लाग्छ । अनि एक दिन त्यही युनिभर्सिटीको बोस बन्छु ।’
उसको आत्मविश्वास देखेर म चकित भएँ । सोधें, विषय चाहिं के हो नि ?’
‘झीनामसिना कुरा मलाई कहाँ याद हुन्छ यार ? पख् है,’ उसले भन्यो र खेताला प्राध्यापकलाई फोन लगाएर सोध्यो, ‘मेरो पीएचडीको टपिक के अरे, सर ?’
उताको जवाफ सुनेपछि ‘काम चाहिं टाइममा सकिनुपर्छ है’ भन्दै फोन राख्यो र मलाई आफ्नो ‘टपिक’ सुनायो । अनि घोषणा गर्‍यो, ‘यो ढोलकबहादुर नाम अलिक भद्दा भयो । पीएचडी हात लागेपछि मेरो नाम डी बी हुन्छ । डाक्टर डी बी ।’
सुकुम्बासी आयोगबाट पनि उसले राम्रै जोरजाम गर्‍यो । त्यसपछि केही वर्ष जग्गा दलालीमा लाग्यो । त्यसैबीच एउटा क्याम्पसमा व्यवस्थापन समितिको अध्यक्ष भयो । पदावधि नसकिंदै सरकारी वन परियोजनाको निर्देशक नियुक्त भयो । म खबर थाहा पाउँथें, तर भेट भएको थिएन ।
एक दिन एउटा पार्टीमा जम्काभेट भयो । उसको हुलिया फरक भइसकेको रहेछ । कुर्ता–पाइजामाको सट्टा सर्ट–पाइन्टमाथि इस्टकोट र ढाका टोपी लगाउन थालेछ । भन्यो, ‘म एमाले प्रवेश गरें यार । अब छोरीको बिहा गरिदिन्छु ।’
एमाले प्रवेश र छोरीको बिहाबीचको सम्बन्ध ठम्याउन नसकेर म अलमल्ल परें । अनि सोधें, ‘बिहा गर्ने वेला भइसक्यो र ?’
‘किन नहुनु ? १८ वर्ष लागिसकी’, ऊ हतारिएको जस्तो लाग्थ्यो ।
नभन्दै अर्को महीना उसले छोरीको बिहामा निम्त्यायो । अनि पो थाहा पाएँ, ऊ छोरीको बिहा गर्न होइन, एमालेको नेतालाई सम्धी बनाउन हतारिएको रहेछ । त्यस दिन स्पष्टै भन्यो, ‘ढीला गर्दा नेता उम्केला भन्ने डर !’
छ महीना नबित्दै टेलिभिजनले उसको अनुहार देखाएर समाचार भन्यो, ‘सरकारले डाक्टर डी बी लाई फलानो विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको छ ।’ चारवर्षे कार्यकालमा सम्धीले सिफारिश गरेका आधा दर्जन मेडिकल कलेजलाई सम्बन्धन दिएर आफू मालामाल भयो र सम्धीलाई पनि दंग पार्‍यो । दुवैले राजधानीको सबैभन्दा महँगो कोलोनीमा छोराको नाममा सँगसँगै घर किने र कुइरेलाई भाडामा लगाए ।
उपकुलपतिबाट खुस्केको केही महीना पछि ऊ भर्खरै स्थापित एउटा संस्थानको अध्यक्ष बनाइयो । दुई वर्षको कार्यकाल उसले संस्थानको भवन बनाउन र एक दर्जन गाडी समेत अरू सरसामान खरीद गर्नमै बितायो । भन्थ्यो, ‘राम्रै कमाइयो ।’
त्यसपछि तरकारी बजार विकास समितिमा नियुक्त भयो, जहाँ कुनै काम थिएन, नाममात्रको तलब–भत्ता आउँथ्यो । ‘त्यत्रो चकचकी गरेको मान्छे, यति सानो पदमा बस्न कसरी मानिस् ?’ भनेर सोध्दा पुरानै पारामा भनेको थियो, ‘के फरक पर्छ यार ? जहाँ पाइन्छ त्यहीं जागीर खाने त हो नि ।’
केही दिन पछि फेरि उसको हुलिया फेरियो । अब ऊ सूट–टाईमा देखिन थाल्यो, जेल लगाएर कपाल कोरेको । माओवादीसँग नजिकिएछ र केन्द्रीय सरकारमा वरिष्ठ मन्त्री रहेको एउटा नेताको पैसा आफ्नो नामबाट लगानी गरिदिन थालेछ, नाफा आधा–आधा बाँड्ने गरी । भन्थ्यो, ‘यो पो गजबको काम रहेछ, बाघको छालामा स्यालले रजाइँ गरेजस्तो ।’
एक दिन मलाई लिएर रिंगरोड छेउको अठारतले बिल्डिङमा गयो । आठौं तलामा उसको एउटा फ्ल्याट रहेछ, छरितो र चिटिक्क सजिएको । आफ्नो ‘पार्टनर’ उही माओवादी मन्त्रीको नाम लिंदै भन्यो, ‘यो फ्ल्याट उसकी गर्लफ्रेन्डलाई बस्न दिन लाग्या छु । अहिले बसेको ठाउँ चित्त बुझेन अरे ।’
‘आगोसँग खेल्न डराउनुपर्छ । फ्ल्याट नै कब्जा गरिदेलान् नि,’ मैले डर देखाएँ ।
ऊ पटक्कै डराएन । भन्यो, ‘चिन्ता नगर् । एउटा गए चारवटा थपिन्छ ।’
अर्को महीना ऊ त्यही मन्त्रीको वरिष्ठ सल्लाहकार नियुक्त भयो, राज्यमन्त्री सरहको सुविधा पाउने गरी । उसको फुर्ती बढ्दै गयो । आम्दानीका बाटा त कति हुन् कति !
एक वर्ष पछि उसले आफ्नो नयाँ घरमा मलाई खान बोलायो । महँगा विलासी सामानले सजिएको, झ्यालको पर्दा रिमोट कन्ट्रोलले चल्ने भव्य घर देखेर म हेर्‍या हेर्‍यै भएँ । ऊ भने त्यतिले नपुगेर सोफा, टेबुल, कुर्सी, पलङ र आफ्ना तस्वीरहरूमा सुनको जलप लगाउने तयारी गर्दै रहेछ । ‘धेर चाहिंदैन, दुई किलो सुनले पुग्छ,’ दंग परेर मलाई सुनायो ।
सबै ठीकठाक चलिरहेको थियो । मन्त्री ऊसँग अनुगृहीत थियो र आफ्नो नामबाट धेरै कुरा गर्न उसलाई छूट दिएको थियो । पैसा वर्षिरहेकै थियो । फुर्तीफार्ती बढिरहेकै थियो । यसैबीच एक दिन उसले मसित खुसुक्क भन्यो, ‘म राजावादीहरूको एउटा कमिटीमा बस्ने भएँ ।’
‘बुद्धि बिग्र्यो कि क्या हो तेरो ? भुइँको टिप्न खोज्दा पोल्टाको पनि गुमाउलास् नि !’ मैले तर्साउन खोजें ।
‘गोप्य कमिटीमा बस्ने हो यार, अरू कसैलाई थाहा हुँदैन । काम पनि खास केही छैन । यसो कहिलेकाहीं यताको भित्री सूचना उता पुर्‍याइदिने मात्र हो,’ उसको स्वर शान्त थियो, ‘भोलि के हो के हो ? यिनीहरूलाई किन टाढा राख्नु ? मैले त टन्न चन्दा पनि दिइसकें ।’
जसलाई पनि, जे गरेर भए पनि पट्याउनुपर्ने र जति भए पनि नपुग्ने उसको स्वभाव हेर्दा उदेक मान्नुपर्ने त केही थिएन, तर ढोलकको कुरा सुनेपछि मेरो मुखबाट त्यही वाक्य निस्क्यो, जुन शुरूमै तपार्इंलाई भनिसकेको छु, ‘तँ त उदेककै मान्छे रैछस्, यार !’
जता पनि, जेमा पनि ‘योग्य’ ठहरिने र जसको पनि भित्रिया हुन सक्ने यो उदेककै मान्छे होइन त ?

Page 9
अर्थ वाणिज्य

सुस्ताएको सुन बजारलाई बिहेको लगनले राहत

- नुमा थाम्सुहाङ

मूल्यमा भइरहेको उतारचढावका कारण सुस्ताएको नेपाली सुन बजारलाई विवाहको लगनले राहत मिलेको छ । गत महिना शून्यसरह कारोबार मंसिरसँगै बढ्न थालेको छ । अहिले दैनिक १५ देखि २० किलोको हाराहारीमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । गत वर्षको मंसिरको तुलनामा भने कारोबार ५० प्रतिशत नै कमी रहेको उनको भनाइ छ ।
‘मंसिरमा बिहेको लगन हुने भएकाले चहलपहल र माग दुवै बढेको छ । गत वर्षको भन्दा यस वर्ष भने ५० प्रतिशतसम्म कम भएको अनुमान छ,’ शाक्यले भने ‘अहिले दैनिक १५/२० किलो कारोबार हुँदा भने केही राहत मिलेको छ ।’ कोभिड–१९ को महामारी र करिब तीन महिना लामो लकडाउनका कारण बजार सुस्त थियो । लगानी सुरक्षित गर्न लगानीकर्ताहरूले सुनमा लगानी गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको भाउ अस्वाभाविक रूपमा बढेको थियो । नेपाली बजारमा तोलाकै १ लाख रुपैयाँसम्म नाघेको थियो । मूल्यमा भइरहेको उत्तारचढावका कारण कारोबार दसैंतिहारका बेला पनि सन्तोषजनक हुन नसकेको व्यवसायी बताउँछन् । बिहेका लगनकै कारण बिस्तारै चहलपहल बढ्न थालेको विशाल बजारस्थित गणपति ज्वेलर्सका म्यानेजर श्रीराम पाठकले पनि स्विकारे ।
‘लगनमा सुन किन्नैपर्ने अवस्था भएर बजार तातेको हो,’ उनले भने, ‘यसले बजारमा माग बढाएको छ । गत महिनाको भन्दा कारोबार राम्रो छ ।’ सुन किनेर राखौं भन्नलाई नभई आवश्यक परेकैले मात्र किनिरहेको उनको भनाइ छ । वैशाख, साउन, भदौ, असोज र मंसिरलाई सुनको कारोबार बढी हुने महिना हुन् । यो समयमा बिहेको लगन अन्य समयभन्दा धेरै हुने गर्छन् । अहिले समग्रमा २५ प्रतिशत कारोबार भएको निष्कर्ष निकालिएको महासंघका पूर्वअध्यक्ष शाक्यले जानकारी दिए । ‘तिहारमा पनि राम्रो कारोबार भयो,’ उनले भने, ‘लकडाउनमा रोकिएका बिहे तिहारपछि धमाधम हुन थालेका छन् ।’ एक समय तोलाकै १ लाख ३ हजार रुपैयाँसम्म पुगेको सुनको कारोबो लकडाउनका कारण शून्य थियो ।
‘अहिले ९० हजार रुपैयाँसम्म आइपुगेकाले मानिसलाई सास फेर्ने सक्ने अवस्था भयो,’ उनले भने, ‘रोकिएको विवाह गर्नैपर्ने स्थितिले सुन बजार तातेको छ ।’ महासंघका अनुसार मंसिर १५ गते छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको थियो । मंसिर १८ गते भने छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि नेपालमा सुनको मूल्य साउन २३ गते अहिलेसम्मकै उच्च छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ थियो । महासंघले चैत १० मा सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ तोकेको थियो । त्यति बेला सरकारले गत चैत ११ बाट लकडाउन घोषणा गरेपछि मूल्य निर्धारण रोकियो । २०७७ जेठ २५ मा भाउ निर्धारण गर्दा एक्कासि बढेर तोलाको ८७ हजार ३ सय रुपैयाँ पुग्यो ।
कोभिड–१९ को बढ्दो संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता प्रभावित भएको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् । त्यसैले लगानी सुरक्षित गर्न उनीहरू सुनतर्फ आकर्षित भएको उनको भनाइ छ । माग एक्कासि बढेपछि अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भयो । त्यसको असर नेपाली बजारमा पनि पर्‍यो ।
‘भाउ लगातार बढेर साउन २३ मा तोलाकै १ लाख ३ हजार ५ सय रुपैयाँ पुग्यो, त्यसपछि कोभिडको भ्याक्सिन आउने हल्लासँगै पुनः घट्यो । साउन २८ मा प्रतितोला ९५ हजार ४ सय रुपैयाँसम्म पुग्यो,’ शाक्यले भने, ‘खोपको कुरा विश्वासिलो नभएपछि भाउ पुनः बढ्न थाल्यो । भदौ २ मा प्रतितोला १ लाख सय रुपैयाँ पुग्यो ।’
पछिल्लो समय भ्याक्सिनको सफलताका समाचारसँगै भाउ पनि घट्न थालेको महासंघले जनाएको छ । मूल्य पुनः अस्थिर देखिएको शाक्यले बताए ।

अर्थ वाणिज्य

अमलेखगन्ज पाइपलाइनबाट पेट्रोल पनि

- राजु चौधरी

इन्डियन आयल कर्पोरेसनले भारतको मोतीहारीमा निर्माण गरिरहेका पेट्रोल र डिजेलका भर्टिकल ट्यांक ।तस्बिर सौजन्य : नेपाल आयल निगम

आयल निगमले अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइनबाट पेट्रोल पनि आयात गर्ने तयारी थालेको छ । झन्डै १५ महिनादेखि पटनाबाट डिजेल आयात गरिरहेको निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले मोतीहारीमा भर्टिकल ट्यांक बनाएलगत्तै पाइपलाइनबाटै पेट्रोल आयात गर्ने योजना बनाएको हो । निगमका अनुसार मोतीहारीमा करिब आठ महिनामै ट्यांक निर्माण सम्पन्न हुँदै छ । यस अवधिमा नेपालका तर्फबाट पनि सम्पूर्ण तयारी गरिनेछ ।
आईओसीले मोतीहारीमा ट्यांकलगायत बनाउने काम २०२१ अक्टोबरसम्म सक्ने लक्ष्य राखेको निगमको बारा अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिए । यस अवधिमा अमलेखगन्जमा ८ हजार २ सय किलोलिटरको भण्डार पेट्रोल ट्यांक निर्माण थालिने उनले बताए । सम्पूर्ण तयारीपछि मोतीहारीबाटै पम्पिङ गरेर पेट्रोल आयात गरिने रेग्मीले जानकारी दिए ।
‘आईओसीले माघसम्मै निर्माण सम्पन्न गर्ने योजना बनाएको थियो । अक्टोबर २०२१ सम्म सक्ने लक्ष्य राखेको छ । १० महिनाभित्र निर्माण सकिन्छ,’ अमलेखगन्ज –मोतीहारी पाइपलाइन योजनाका समेत प्रमुख रहेका रेग्मीले भने, ‘यही अवधिमा नेपालतर्फ गर्नुपर्ने भण्डारण विस्तारको काम तीव्र पार्छौं ।’ अमलेखगन्जमा ४२/४२ लाख लिटरका थप दुई वटा पेट्रोल ट्यांक, ३०/३० लाख लिटरका दुई वटा पानी ट्यांक, अत्याधुनिक प्रयोगशालालगायतको काम अघि बढाइनेछ । यी पूर्वाधार निर्माण गर्न निगम सञ्चालक समितिले पानै २ अर्ब रुपैयाँ बजेट स्वीकृत गरिसकेको छ । ‘पाइपलाइनको ‘सेकेन्ड फेज’ अन्तर्गतका लागि बजेट स्वीकृत भएको छ । सोहीअनुसार आईओसीसँग प्रस्ताव मागेका छौं,’ रेग्मीले भने, ‘कसरी निर्माण गर्ने, कहिलेसम्म सम्पन्न गर्ने भन्ने विषयमा आईओसीले एक साताभित्र प्रस्तावपत्र दिन्छ । पाइपलाइनको दोस्रो फेजको काम पनि छिट्टै सुरु हुन्छ ।’
भारतीय आयल कर्पोरेसनले पहिलो चरणअन्तर्गतका काम सबै सकेको छ । पेट्रोलका दुई वटा ट्यांकमध्ये एउटा आईओसी र अर्को नेपालले बनाउनेछ । ट्यांक बनाउन करिब ५/७ महिनासम्म लाग्ने जनाइएको छ । ‘यी सबै पूर्वाधार बनेपछि अहिलेकै पाइपलाइनबाट डिजेल र पेट्रोल आयात हुन्छ,’ उनले भने । अहिले पटनाबाट पम्पिङ भएपछि अमलेखगन्जमा डिजेल आइपुग्छ । मोतीहारीमा निर्माण सम्पन्न भएपछि त्यहीँबाटै पम्पिङ हुन्छ । ‘मोतीहारीबाटै पम्पिङ हुँदा दूरी घट्छ,’ रेग्मीले भने, ‘त्यो हुँदा प्रतिघण्टा ३ देखि ४ लाख लिटर आयात गर्न सकिन्छ ।’
अहिले अमलेखगन्जमा १९ लाख किलोलिटरका लागि पेट्रोल ट्यांक छन् । तीमध्ये पाँच लाख लिटरका अन्डरग्राउन्ड ससाना ट्यांकी छ । त्यसबाट पाइपलाइनको तेल आयात गर्न मिल्दैन । जसले गर्दा थप ट्यांक निर्माण आवश्यक छ । दुई दशकदेखि चर्चा सुरु भएको बहुप्रतीक्षित पेट्रोलियम परियोजना गत वर्ष भदौमा उद्घाटन भएको थियो । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्विच थिचेर अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन शुभारम्भ गरेका थिए ।
पाइपलाइनमा तेल भित्र्याउने योजना सम्झौताको १५ वर्षपछि पूरा भएको थियो । पाइपलाइन बनेपछि डिजेल ढुवानीमा हुने प्राविधिक नोक्सानी अन्त्य भएको छ । पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुगेको, ट्यांकरबाट हुने प्रदूषण तथा वातावरणमा पुग्ने क्षति कम भएको निगमको दाबी छ । भन्सार नाकामा हुने सवारी जाम र हडतालको मार पनि कम भएको जनाइएको छ ।
अमलेखगन्जमा निर्माण हुने ट्यांक अत्याधुनिक हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । पाइपलाइन ‘मल्टी प्रडक्ट’ भएकाले सन्तुलन मिलाउन डिजेल मात्रै आयात गरिएको थियो । डिजेलपछि पेट्रोल आयात गर्नुपरे त्यसअघि मट्टीतेल प्रयोग गर्नुपर्ने हुन्छ । पेट्रोलपछि फेरि डिजेल ल्याउनुपरे बीचमा मट्टीतेल ल्याउनुपर्छ । मट्टीतेल प्रयोग गर्न मिल्ने हुन्छ । यी सबै प्रक्रिया पूरा गर्न मट्टीतेलको पनि ट्यांक बनाउन करिब डेढ वर्ष लाग्ने पौडेलले जानकारी दिए । भारततर्फ ३२.७ र नेपालतर्फ ३६.२ किमि रहेको पाइपलाइनको डाइमिटर १०.७५ इन्च छ । भित्री भाग १० इन्च छ । त्यही भागबाट डिजेल आयात भइरहेको छ । पाइपलाइनमा आईओसी र निगमको गरी ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ ।
पाइपलाइन निर्माणको चर्चा सन् १९९६ बाटै सुरु भएको हो । तर सन् २००४ मा मात्र दुई देशबीच औपचारिक समझदारी भयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा निगम र आईओसीबीच पेट्रोलियम पाइपलाइनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । निगमका तर्फबाट तत्कालीन कार्यकारी निर्देशक उपेन्द्र कोइरालाले हस्ताक्षर गरेका थिए । निर्माणका लागि दुई देशका प्रतिनिधिबीच विभिन्न चरणमा वार्ता र छलफल भए पनि सफल हुन सकेन । लामो छलफलपछि दुवैतर्फका उच्च अधिकारी सम्मिलित ‘अध्ययन समिति’ गठन भयो । प्रतिवेदनकै आधारमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको पहलमा २०१५ अगस्ट २४ मा अर्को सम्झौता भयो ।
तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानले त्यसमा हस्ताक्षर गरे । २०७२ असोजमा संविधान जारी भएसँगै भारतको नाकाबन्दीपछि परियोजना फेरि अन्योलमा पर्‍यो । २०७३ चैत २४ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले पाइपलाइन बिछ्याउने कार्यको संयुक्त शिलान्यास गरे । पाइपलाइन परियोजना सन् २०२० मा सम्पन्न गर्ने सम्झौता थियो । तर ८ महिनाअगाडि नै सम्पन्न भएको हो ।

अर्थ वाणिज्य

सडक पूर्वाधारमा ११ प्रतिशत बजेट खर्च

- विमल खतिवडा

सडक विभागअन्तर्गत पूर्वाधार निर्माणमा चालु आर्थिक वर्ष (२०७७/७८) को प्रथम चौमासिकमा ११ दशमलव २ प्रतिशत बजेट खर्च भएको छ । विभागअन्तर्गत पूर्वाधार निर्माणमा चालु आर्थिक वर्षमा १ खर्ब ४ अर्ब बजेट विनियोजन भएको थियो । त्यसमध्ये प्रथम चौमासिकमा ११ अर्ब ६४ करोड ८० लाख रुपैयाँ खर्च भएको हो ।
प्रथम चौमासिकमा सबैभन्दा राम्रो प्रगति पुल निर्माणमा भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । अन्य क्षेत्रको प्रगति भने सुस्त छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पुल निर्माणको वार्षिक लक्ष्य ३ सय वटा पुल निर्माण गर्ने थियो । यसमा प्रथम चौमासिकको लक्ष्य ३० वटा पुल निर्माण गर्ने हो । तर लक्ष्यभन्दा बढी ३५ पुल निर्माण भएको विभागले जनाएको छ ।
नयाँ कालोपत्र स्तरको सडक निर्माणको वार्षिक लक्ष्य १ हजार ८ किमि छ । प्रथम चौमासिक लक्ष्य ३ सय ८७ किमि रहेकामा २ सय ३४ किमि मात्र कालोपत्र भएको छ । त्यस्तै ग्राभेलस्तरको सडक निर्माणको वार्षिक लक्ष्य एक हजार किमिमध्ये प्रथम चौमासिकमा २ सय ५० किमि सक्नुपर्ने थियो । तथ्यांकअनुसार १ सय ७७ किमि मात्र बनेको छ । माटे सडक निर्माणको वार्षिक लक्ष्य पाँच सय किमि छ । त्यसमध्ये प्रथम चौमासिकमा सक्नुपर्ने १ सय ९६ किमिमा १ सय ४२ किमि मात्र निर्माण भएको छ । ‘असोज २१ सम्म पानी परेर बाढीपहिरो आउने क्रम रोकिएन,’ महानिर्देशक शर्माले भने, ‘जसले गर्दा निर्माणको काम प्रभावित बन्यो ।’ कोरोनाले गर्दा पूर्वाधार निर्माणको काम प्रभावित बन्यो ।
कालोपत्र स्तरको सडक पुनर्निर्माण तथा पुनःस्थापना गर्नुपर्ने वार्षिक लक्ष्य ३ सय ३४ किमि छ । यसमध्ये प्रथम चौमासिकमा १ सय ९७ किमि सक्नुपर्नेमा १ सय २१ किमिको मात्र काम भएको छ । वार्षिक आवधिक रूपमा मर्मत गर्नुपर्ने सडक ७ सय २९ किमि रहेको सडक विभागले जनाएको छ । प्रथम चौमासिकमा १ सय किमिमध्ये ३७ किमि मात्र आवधिक मर्मत भएको विभागले जनाएको छ । ‘कतिपय जिल्लामा अझै त्यहाँका स्थानीय तहले बाहिरी जिल्लाका मान्छे जान दिएका छैनन्,’ शर्माले भने, ‘जसले गर्दा निर्माणको काम अघि बढाउन सकिएको छैन ।’ मनाङ, मुस्ताङ र हुम्लामा यस्तो समस्या छ । कात्तिकदेखि निर्माण सामग्री पाइएको छैन । ‘क्रसर बन्द हुँदा निर्माण सामग्री अभाव भएको हो,’ उनले भने, ‘कोरोना यत्तिकै रहे र निर्माण सामग्रीको अभाव भइरहे लक्ष्य भेट्न गाह्रै पर्छ ।’ उनका अनुसार पुल निर्माणमा भने प्रथम चौमासिकको लक्ष्यभन्दा प्रगति बढी छ ।
‘अन्य क्षेत्रमा पनि हामी अघि बढ्ने क्रममै छौं,’ उनले भने । उनका अनुसार चक्रपथ विस्तारका लागि स्वयम्भूको चैत्य भत्काउन बाँकी छ । चक्रपथमै पर्ने महाराजन्ज क्षेत्रका घर पनि भत्काउन सकिएको छैन । ‘ठेक्का गर्नुअघिको तयारी हुँदै छ,’ उनले भने, ‘त्यसपछि विस्तृत डिजाइन तयार हुनेछ ।’ सिद्धबाबा सुरुङ मार्ग निमाण यस वर्ष थालिने उनले बताए । लामाबगर–लाप्चे सुरुङमार्गको काम पनि यसै वर्ष अघि बढ्नेछ ।
‘अन्य सुरुङमार्गका विषयमा भने प्रारम्भिक अध्ययन भइरहेको छ,’ उनले भने । अहिले निर्माणको समय हो । ‘यही बेला क्रसर बन्द छन्,’ उनले भने, ‘जसले गर्दा निर्माण सामग्री अभावमा कामले तीव्रता पाएको छैन ।’

Page 10
अर्थ वाणिज्य

सुन्तलामा किरैकिरा

खेत मासेर सुन्तला खेती गरिरहेका किसान घाटा बेहोर्नुपरेपछि पीडामा छन्
- प्रकाश बराल
किरा परेको सुन्तला देखाउँदै बागलुङ भकुन्डेका किसान । तस्बिर : प्रकाश/कान्तिपुर

अघिल्लो वर्ष सुन्तलाबाट मनग्गे कमाइ गरेका बागलुङ नगरपालिका–१० भकुन्डेका देवीराम थापाका बारीका सुन्तला यति बेलासम्म बिकेको छैनन् । प्रायः सुन्तला नपाक्दै पहेंलिएका छन् । खोल्साएर हेर्दा किरैकिरा छन् ।
बारीभरि झरेका सुन्तला टिपेर खाल्डोमा पुर्नुपर्दा उनी निराश छन् । ‘पहिला डोको लिएर आउनेलाई धमाधम बिक्री गरिन्थ्यो, अहिले दिनदिनै डोकोभरिका सुन्तला खाल्डोमा पुर्नुपरेको छ,’ उनले भने, ‘के रोग आयो, आम्दानी नै सुकाउने भयो ।’
भकुन्डोन मात्र होइन, वडा नम्बर ८ को सिगाना र वडा नम्बर ९ को तित्याङमा पनि उस्तै समस्या छ । अघिल्लो वर्ष सिगानाका किसानले मात्रै २ करोड रुपैयाँभन्दा बढीको सुन्तला बेचेका थिए । ‘सयौं बिरुवा सुन्तला छन्, पहेंलिएर झरेपछि न खेतीपाती भयो, न सुन्तलाबाट कमाइ भयो,’ सिगानाका टोपबहादुर खड्काले भने, ‘यो वर्ष किसानको लगानी मात्र होइन वर्षभर कमाइ खाने बाटो पनि बन्द हुने भयो ।’ सुन्तलाका लागि खड्कासहित यहाँका किसानले सयौं रोपनी धानखेत मासेका थिए ।
नगरपालिकाले तीन वर्षदेखि सिगानामा सुन्तला पकेट क्षेत्र बनाउन ५० हजारभन्दा बढी बिरुवा रोप्दै आएको छ । नगरपालिका र किसानको लगानीमा ती बिरुवा रोपिएको हो । दुई वर्षसम्म सिगानामा सुन्तला महोत्सवसमेत भएको थियो । खड्काले मात्रै वर्षमा ४ देखि ५ लाख रुपैयाँसम्मका सुन्तला बिक्री गर्दै आएका थिए । सिगानामा दुई वटा सुन्तला भण्डार केन्द्र पनि स्थापना गरिएको छ । किसानले भण्डारण गरेका सुन्तला फागुन–चैतमा बेचेर फाइदा लिने गरेका थिए ।
काठेखोला गाउँपालिका र जैमिनीमा पनि सुन्तलाका हाँगासमेत मर्ने समस्या भएको किसानले गुनासो गरेका छन् । ‘सुन्तलासहित भोगटे र निबुवालगायतका अमिलो प्रजातिमा पनि किरा पर्ने समस्या छ,’ काठेखोला–६ का युक्तप्रसाद कँडेलले भने, ‘सुन्तलाबाट गाउँमा समृद्धि भित्र्याउन खोजेका किसानको गासमा ढुंगा लागेको छ ।’ प्राविधिकलाई देखाए पनि यो वर्षको उत्पादन भने आधाभन्दा बढी घाटा हुने उनले गुनासो गरे । समयमै औषधोपचारको व्यवस्थापन गरे किराबाट बचाउन सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना म्याग्दीका प्रमुख सुधीर थापाले बताए । ‘किसानले गुनासो गरेको अवस्थामा प्राविधिक पठाएर उपचारमा साथ दिएका छौं । तर ढिलो गरी थाहा भएकाले क्षति भएको देखियो,’ उनले भने, ‘कर्मचारी अभावले भनेका बेला किसानको गुनासो सम्बोधन गर्न पनि सकिएको छैन ।’ किरा परेर झरेका सुन्तला समयमै व्यवस्थापन गर्न नसके अर्को वर्ष पनि समस्या हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीको भनाइ छ ।

अर्थ वाणिज्य

किसानले पाएनन् तीन वर्ष पुरानो भुक्तानी

- नवीन पौडेल

पश्चिम नवलपरासीका उखु किसान तीन वर्षअगाडि बिक्री गरेको उखुको बक्यौता रकम अहिलेसम्म पनि नपाउँदा पीडामा छन् । जिल्लाका दुई चिनी उद्योगले उखु किसानको तीन वर्षअगाडिको १८ करोड रुपैयाँ दिन बाँकी छ । लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा सुगर मिलबाट ८ करोड रुपैयाँ किसानले पाउनुपर्ने उखु उत्पादक किसान समिति नवलपरासीले जनाएको छ । बक्यौता रकम नदिएपछि अघिल्लो वर्ष किसानले वाग्मती सुगर मिललाई मात्र उखु बिक्री गरेका थिए ।
पटक–पटक बक्यौता रकम उपलब्ध गराउने सहमति भए पनि उद्योगीले प्रशासन र किसानलाई टेरेका छैनन् । भुक्तानीका लागि किसानले पटकपटक सडक आन्दोलन गरे पनि उद्योगीले चिनीको मूल्य सस्तो भएको, उद्योग घाटामा सञ्चालन भएको बहाना देखाउँदै भुक्तानी रोक्ने गरेको उखु उत्पादन किसान समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
‘भुक्तानीका लागि सहमति गरेर पनि बहाना बनाउने उद्योगीविरुद्ध हामी अब सडक संघर्षमा उत्रिँदै छौं,’ उनले भने, ‘कोभिड–१९ का कारण सडक संघर्षमा जान नसके पनि अब भोकै मर्नुभन्दा आन्दोलनमा उत्रिने तयारीमा छौं ।’ भुक्तानीका लागि उद्योग र जिल्ला प्रशासन कार्यालय धाउँदा पनि भुक्तानी नपाएपछि खेती लगाउँदा लिएको ऋण तिर्न नसकेको सरावल–२ का बुद्धिबहादुर चौधरीले गुनासो गरे । ‘प्रशासनलाई नटेर्ने उद्योगीले हामीलाई के टेर्थे ?’ उनले भने, ‘उखु नलगाऊँ, अरू खेती खासै हुँदैन । लगाऊँ, समयमा रकम पाइँदैन । अहिले त हाम्रा लागि उखु खेती निल्नु न ओकल्नु भएको छ ।’
पहिले–पहिले उद्योगले समयमै भुक्तानी दिने, नजिकै तौल केन्द्र स्थापना गरेर तौलिने र लैजानेसमेत गर्थे । तर पछिल्लो सात वर्षयता उद्योगले किसानलाई विभिन्न बहाना बनाएर ठग्ने तथा भुक्तानी दिन आनाकानी गरेर सस्तोमा उखु किनिरहेका छन् । बर्सेनि उधारोमा उखु बेच्नुपर्ने भएपछि यस क्षेत्रका किसानले विकल्प खोज्न सुरु गरेका छन् ।
पश्चिम नवलपरासीका किसान अहिले उखु काट्ने तर्खरमा छन् । तर यस वर्ष पनि उखुको मूल्य के हुने भन्नेमा अन्योल छ । समयमा नकाट्ने हो भने उखु फुलेर तौल कम हुँदै जान्छ । काटौं भने कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता छ । चिनी उद्योगलाई उधारोमा बिक्री गर्नुपर्ने र भेली उद्योगलाई बिक्री गर्दा मूल्य कम आउने चिन्ता छ ।
जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रमा उखु खेती हुँदै आएको छ । यहाँ करिब २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा इन्दिरा सुगर इन्डस्ट्रिज, वाग्मती खाडसारी र लुम्बिनी चिनी मिल गरी तीन वटा ठूला उद्योग सञ्चालनमा छन् भने एक सयभन्दा बढी भेली बनाउने क्रसर सञ्चालनमा छन् ।

अर्थ वाणिज्य

खानेपानी आयोजनाका २ सय मजदुरले ज्याला पाएनन्

- ज्योति कटुवाल

सहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले चार वर्षदेखि ज्याला पाएका छैनन् । ठेकेदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि माग सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।
दैलेखको नारायण नगरपालिका–४ मा अवस्थित खानेपानी आयोजनामा करिब दुई सय मजदुरले काम गरेका थिए । निर्माण कम्पनी सुमेकचन्द्र एन्ड वसन्त जेभीले मजदुरको ज्यालाका साथै अन्य विभिन्न व्यक्तिलाई करिब २ करोड रुपैयाँ तिर्न बाँकी रहेको पीडितको भनाइ छ । बर्दियाबाट मजदुर ल्याएर काममा लगाएका राजधानी चौधरीले आफूले करिब २२ लाख रुपैयाँ लिन बाँकी रहेको बताए । मजदुरको ज्याला नपाउँदा चौधरी घर फर्किन सकेका छैनन् । ‘ठेकेदारले पैसा दिएको छैन, पैसा नभएपछि कसरी घर जानु ?’ उनले भने, ‘घर जानेबित्तिकै ज्यामीले घेर्छन्, त्यही भएर यतै बसेको छु ।’
आयोजनामा सात वर्षदेखि प्लम्बरको काम गरिरहेका कमल कोइरालाले ६ लाख रुपैयाँ पाएका छैनन् । उनले विभिन्न ठाउँबाट मजदुर जुटाएका थिए । ‘ठेकेदारले जति गर्दा पनि पैसा नदिएपछि प्रहरी कार्यालयमा उजुरी गरेका छौं तैपनि ज्याला पाइएको छैन,’ उनले भने, ‘उतिबेला ठेकेदारले भनेपछि आफ्नो जिम्मामा कामदारलाई काममा लगाएँ, अहिले आएर फसाद भयो ।’ ठेकेदारले नसकेपछि आफूले विभिन्न ठाउँमा सम्पर्क गर्दै मजदुर जुटाउने काम गरेको उनले बताए ।
कोइरालाका अनुसार निर्माण कम्पनीले मजदुरलाई जनही सरदर २–३ लाखको दरले रकम दिन बाँकी छ । मजदुर र अन्य कर्मचारीको समेत गरेर करिब २ करोड रुपैयाँ तिर्न बाँकी रहेको उनले बताए । २४ करोड रुपैयाँमा २०६९ सालमा आयोजनाको सम्झौता भएको हो । आयोजनाका लागि स्थानीय उपभोक्ताले समेत प्रतिघर ५ देखि १५ हजारसम्म रकम तिरेका छन् । २०७५ काम सम्पन्न भए पनि धारामा पानी भने अझै आएको छैन । आयोजनाको झन्डै आधा काम बाँकी रहेको आयोजना सञ्चालक सहारे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बलाराम श्रेष्ठले जानकारी दिए । ‘मजदुरले ज्याला पाएका छैनन्, उपभोक्ताले पानी पिउन पाएका छैनन्,’ उनले भने, ‘ठेकेदार भागेर गइसक्यो, काम अझै अलपत्र छ ।’
खानेपानी विभागबाट भुक्तानी नहुँदा मजदुरको ज्याला र अन्य भुक्तानी गर्न नसकिएको निर्माण कम्पनीका सहायक प्रबन्धक प्रवीण खत्रीले बताए । ‘हामीले जिम्मा लिएको काम सम्पन्न गरिसक्यौं, भुक्तानी भने पाएका छैनौं,’ उनले भने, ‘त्यो रकम नपाउँदा तिर्नुपर्ने रकम पनि दिन नसकिएको हो ।’

अर्थ वाणिज्य

‘एटेन्ड’ एपमा ट्याक्सी, एम्बुलेन्स र मोटरसाइकलको सेवा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाली राइड सेयर बजारमा ‘एटेन्ड’ एपले आफ्नो सेवा थालेको छ । यो हाल बजारमा उपलब्ध अरू राइड सेयर एपभन्दा अलग उत्साह र सुविधासाथ आएको छ । यो एपले आफ्नो निजी सवारी साधन नभएका यात्रुको समस्या समाधान गर्ने बताइएको छ । मोटरसाइकल, एम्बुलेन्स, शववाहन, ट्याक्सी, कार, जिप, मालवाहक ट्रकदेखि हेलिकप्टरसम्मको सेवा दिने एटेन्ड प्रालिका निर्देशक भीमकान्त भण्डारीले बताए ।

अर्थ वाणिज्य

आईसीपीमै छैन एक्सरे मेसिन

- कान्तिपुर संवाददाता

विराटनगर (कास)– एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा सामानको सूक्ष्म तथा गहन परीक्षण गर्ने एक्सरे र स्क्यानर मेसिन नहुँदा भौतिक परीक्षणकै भरमा सामान छाड्नुपर्ने बाध्यता छ । आयातित सामानको भौतिक परीक्षण मात्र गरेर छाड्दा भन्सार कर्मचारी, जाँचकी र एजेन्टको मनोमानी हुने गरेको भन्सार स्रोतको भनाइ छ । यस्तो अवस्थामा प्रतिबन्धित सामान पनि आयात हुन सक्ने अवस्था रहेको स्रोतको भनाइ छ ।
बुधनगरस्थित १ सय २९ बिघा जमिनमा भारतले १ अर्ब ९० करोड लागतमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण गरेर गत माघदेखि सञ्चालनमा आएको थियो । आईसीपीमा एक्सरे र स्क्यानर मेसिन नहुँदा सामान अनलोड गराएर भौतिक परीक्षणकै आधारमा छाड्ने गरेको प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले स्विकारे । ‘सामानको परीक्षण सूक्ष्म तथा गहन रूपमा गर्ने मेसिन छैन । त्यसैले भौतिक रूपमा परीक्षण गरेर सामान छाड्नुपर्ने बाध्यता छ,’ उनले भने ।
भन्सार विभागले चाँडै एक्सरे मेसिन राख्ने प्रक्रिया सुरु गरेको भण्डारीले बताए । ‘आईसीपीमा सामान जाँच्ने ओपन सेड घर नहुँदा आयातित सामानको जाँच सडकमै गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यहाँ सामान जाँच्न ओपन सेड घर छैन ।’ आयातित सामानका ट्रक र कन्टेनरलाई सडकमै रोकेर जाँच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । दैनिक औसत अढाइ सय ट्रक र कन्टेनर आईसीपीमा आउँछन् । यहाँ गोदामघर पनि छैन । यो कार्यालयले सामान्य अवस्थामा दैनिक औसतमा १५ करोड रुपैयाँ राजस्व असुली गर्दै आएको छ ।

अर्थ वाणिज्य

एक अर्ब लागतमा फोहोर प्रशोधन केन्द्र

- अमृता अनमोल

रुपन्देहीको सैनामैना–१० मा झन्डै एक अर्ब लागतको फोहोर प्रशोधन केन्द्र निर्माण सुरु भएको छ । सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिकाको साझेदारीमा प्रशोधन केन्द्र निर्माण सुरु भएको हो, जसले दैनिक ४ सय टनसम्म फोहोर प्रशोधन गर्न सक्नेछ ।
बुटवलमा निर्माण थालिएको प्रशोधन केन्द्रमा विवाद भएपछि सैनामैनामा निर्माण थालिएको हो । दातृ निकायको सहयोगमा प्रशोधन केन्द्र निर्माण गर्दा झमेला भएपछि सरकारी लगानीमा प्रशोधन केन्द्र निर्माण अगाडि बढाइएको बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीले बताए । ‘स्थानीयले ससानो बखेडा निकाले पनि दातृ निकायले सहयोग रोक्ने रहेछन् । यसले बुटवलमा प्रशोधन केन्द्र निर्माण रोकियो,’ उनले भने, ‘त्यसैले सरकारी लगानीमा सैनामैनामा योजना अगाडि बढाइएको हो ।’
फोहोर व्यवस्थापनमा तत्काल निकास निकाल्न यो योजनालाई संघीय सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त योजनामा समावेश गरेको छ ।
प्रशोधन केन्द्रमा पहिलो चरणमा साझेदार सैनामैना, बुटवल र कञ्चन गरी तीन स्थानीय तहको फोहोर प्रशोधन थालिनेछ । दोस्रो चरणमा रुपन्देहीका १६ वटै स्थानीय तह र कपिलवस्तुका ४ स्थानीय तहबाट उत्पादित फोहोर प्रशोधन गर्ने लक्ष्य रहेको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । यहाँ घरायसी फोहोरदेखि मेडिकलजन्य फोहोरसमेत प्रशोधन हुनेछ । प्रशोधन केन्द्र तयार भए पनि निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिइनेछ । उक्त फोहोर प्रशोधन गरेर दाना, कम्पोस्ट मल र मिथेन ग्यास उत्पादन गरिनेछ । ‘फोहोरबाट मोहोर उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘विवादरहित काम गर्न स्थानीयको बस्तीभन्दा टाढाको क्षेत्र छनोट गरेका छौं ।’
प्रशोधन केन्द्र निर्माणस्थल पूर्वपश्चिम राजमार्गबाट ५ किलोमिटर उत्तर र बस्तीबाट २ किलोमिटर टाढा छ । यो खोरमोर खोलाको उकास क्षेत्र हो । छुट्याइएको तीन बिघामध्ये केही राष्ट्रिय वनको समेत जग्गा छ । त्यसको ईआईए प्रतिवेदन तयार भएको नगर प्रमुख कार्कीको भनाइ छ । प्रतिवेदन स्वीकृत हुन बाँकी छ । ‘प्रभावपूर्व मूल्यांकनमा समस्या नदेखिएपछि काम भने अगाडि बढाइएको छ,’ उनले भने ।
प्रशोधन केन्द्रका लागि संघीय सरकारले १० करोड रुपैयाँ अनुदान दिएको छ । त्यसमध्ये गत वर्ष ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । यसमा एक करोड रुपैयाँ लागतमा तारजाली गर्ने काम भएको छ । यस वर्ष डेढ करोड रुपैयाँमा तारजालीको थप काम गरिने सैनामैना नगरपालिकाका योजना प्रमुख सुरज न्यौपानेले बताए । प्रशोधन केन्द्रकै लागि सहरी विकास मन्त्रालयबाट ५० लाख रुपैयाँ लागतमा कम्पाउन्ड वाल लगाइएको छ । सहरी विकास मन्त्रालयबाट यस वर्षसमेत स्थानीय तह संयुक्त फोहोर व्यवस्थापनका लागि ४५ लाख रुपैयाँ छुट्टिएको छ । उक्त रकमबाट राजमार्गबाट प्रशोधन केन्द्रसम्म पुग्ने साइड सडक बनाइने योजना प्रमुख न्यौपानेले बताए ।
राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरेलगत्तै प्रशोधन केन्द्र निर्माणका लागि अर्थ मन्त्रालयले यसै वर्ष थप रकम पठाउने प्रतिबद्धता जनाएको छ । झन्डै एक अर्ब लागतमा प्रशोधन केन्द्र निर्माण हुने डीपीआर तयार भइसकेको छ । ‘कामका आधारमा थप रकम पठाउनेछौं,’ अघिल्लो साता सैनामैना आएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, ‘अबको २ वर्षभित्र निर्माणको काम सक्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका छौं ।’

अर्थ वाणिज्य

‘आर्थिक पुनरुत्थानका कार्यक्रम कार्यान्वयन गर्नुस्’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जालगायत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न भनेका हुन् ।
‘कोभिड–१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि राम्रो कार्य सम्पादन गरी आफ्नो क्षमता प्रदर्शन गरौं,’ मन्त्री पौडेलले भने, ‘आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरौं ।’ अर्थलगायत विभिन्न मन्त्रालयको पुँजीगत खर्च बढाउन थप पहल गर्न र अन्तरमन्त्रालय समन्वयमा जोड दिन उनले निर्देशन दिए । पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनोट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्न सहजीकरण गर्ने उनले बताए । खर्च व्यवस्थापनलाई प्रभाकारी बनाउँदै राजस्व परिचालनमा जोड दिनुपर्ने मन्त्री पौडेलको भनाइ छ । उक्त अवसरमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक बजेटको खर्च स्थितिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

अर्थ वाणिज्य

३ अर्ब सहुलियत ऋण प्रवाह गर्दै प्रदेश सरकार

- सुवास बिडारी

वाग्मती प्रदेश सरकारले विभिन्न सात क्षेत्रमा लगानी गर्ने गरी सहुलियतपूर्ण ऋण प्रवाह गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले कार्यविधि बनाएर ऋण प्रवाहका लागि बिहीबार सम्झौता गरेको छ । मन्त्रालयले बिहीबार कृषि विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग छुट्टाछुट्टै सम्झौता गरेको हो ।
मन्त्रालयले कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन प्रवर्द्धन, व्यापार, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा ऋण लगानी गर्ने मन्त्रालयका सचिव डण्डुराज घिमिरेले जानकारी दिए । आर्थिक मामिला मन्त्रालयका सचिव घिमिरे, कृषि विकास बैंकका प्रदेश निर्देशक कृष्ण नकर्मी र सुन्दरप्रसाद खतिवडा तथा साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराईले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
‘कोरोना महामारीपछि विभिन्न क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न हामीले सहुलियतपूर्ण ऋण लगानी गरेका छौं,’ उनले भने, ‘३ अर्ब रुपैयाँको कोष बनाएका छौं । यसका लागि अधिकतम १० लाख रुपैयाँसम्म ऋण लगानी हुनेछ ।’ पाँच वर्षका लागि ३ प्रतिशत ब्याजदरमा ऋण लगानी हुनेछ । वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको कार्यविधिअनुसार कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरुत्थान गर्ने उद्देश्यले ऋण प्रवाह गरिनेछ । यसअघिको अनुदान कार्यक्रम प्रभावकारी नभएको भन्दै मन्त्रालयले सहुलियतपूर्ण ऋणको कार्यक्रम अघि सारेको हो । बजेटमै उल्लेख गरिएको यो कार्यक्रम चालु आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि कार्यान्वयन हुने भएको छ । समूह जमानी वा परियोजना नै धितो राखेर ऋण पाइने मन्त्रालयले जनाएको छ ।
‘यो सम्झौता भएपछि तत्काल ऋण प्रवाहको काम सुरु हुनेछ,’ सचिव घिमिरेले भने, ‘कोरोना महामारीबाट शिथिल भएको कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित क्षेत्रमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन प्रदेश सरकारको बजेट वक्तव्यमा उल्लेख भएअनुसार कार्यक्रम सुरु भएको छ । कार्यक्रमबाट तल्ला तहका नागरिकले सहुलियत पाउनेछन् ।’
कार्यक्रम सञ्चालनका लागि आर्थिक मामिला तथा योजनामन्त्री नै संयोजक रहने गरी पाँच सदस्यीय कार्यक्रम निर्देशक समिति गठन गरिने भएको छ । यस्तै मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन तथा अनुगमन समिति, सम्बन्धित जिल्लामा अनुगमन गर्न जिल्ला समन्वय समिति संयोजक रहेको समितिसमेत गठन गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

Page 11
समाचार

गैंडा सिकारका अभियुक्त १५ वर्षपछि पक्राउ

- कान्तिपुर संवाददाता

चितवन (कास)– त्यसबेलै पक्राउ परेको भए गैंडा मारेको अपराध प्रमाणित भएका सुरज चौधरीले अहिले सजाय पूरा गरिसक्थे तर फरार भएका उनी १५ वर्षपछि बिहीबार बिहान पक्राउ परेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिकामा पर्ने वीरेन्द्रनगर खुरखुरेबाट उनलाई समातिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । चौधरीको घर पश्चिम चितवनको दिव्यनगरमा पर्छ । हाल ३६ वर्ष उनलाई गाउँकाले सूर्य वा सुर्जे भनेर चिन्छन् ।
२०६२ असारमा गैंडा मारेको आरोपमा चितवन निकुञ्जले उनीविरुद्ध सोही वर्षको असोज १२ गते मुद्दा दायर गरेको थियो । दुई वर्षपछि ०६४ पुस २० मा मुद्दा फैसला हुँदा उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको थियो । गैंडा मरेपछि त्यसबेला तत्काल तीन जना पक्राउ परेका थिए । गैंडालाई चौधरीले गोली हानेको उनीहरूले बयान दिएका थिए । सहायक संरक्षण अधिकृत अधिकारीका अनुसार चौधरी नेपाली सेनाका भगौडा सिपाही हुन् ।
आफ्ना साथीहरू समातिएपछि उनी भाग्दै र लुक्दै हिँडेका थिए । ‘परिवार सार्दै घरी कहाँ घरी कहाँ बस्ने गरेको बुझियो । यसबीच वैदेशिक रोजगारीका लागि कतार गएर तीनपटक आउजाउ गरेको पनि खुलेको छ,’ अधिकारीले भने ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल यस्ता फरार व्यक्ति एक सयको हाराहारीमा रहेको बताउँछन् । सिकारीले निकुञ्जमा एकै वर्षमा ३७ वटासम्म गैंडा मारेको उदाहरण छ । ०६७ सालपछि गैंडा मर्न कम हुँदै गएको हो । सो वर्षको पुस १९ देखि एक वर्षसम्म चोरीसिकारीले गैंडा नमारेको भनेर ०६८ पुस २३ मा ‘शून्य चोरीसिकार वर्ष’ मनाइएको थियो । त्यसपछिका वर्षमा चोरीसिकारीले फाट्टफुट्ट गैंडा मारेका थिए ।
यस वर्ष चोरीसिकारीले मारेका चारवटा गैंडा फेला परेका छन् । पछिल्ला वर्षमा निकुञ्जमा चोरीसिकारीविरुद्ध प्रविधिको पनि प्रयोग बढेको छ । जंगलभित्र र संवेदनशील क्षेत्रमा सीसी क्यामेरा छन् । तालिमप्राप्त कुकुर अहिले निकुञ्जमै छन् । मुद्दा दायर भएका फरार अभियुक्त र अभियोग प्रमाणित भएका मात्रै होइन, नयाँ घटनामा संलग्न सिकारी र तस्कर पनि समातिएका छैनन् । ‘हामी खोज अनुसन्धान जारी नै राख्छौं । शंकास्पद मान्छे निरन्तर निगरानीमा हुन्छ । प्रमाणले आश्वस्त हुँदाका बखत समातिन्छन्,’ प्रमुख संरक्षण अधिकृत बरालले भने ।

Page 12
खेलकुद

उल्भस अर्थात् ‘पोर्चुगाली कोलोनी’

उल्भसले भलै प्रिमियर लिगमा खेल्छ, तर यो पक्का पोर्चुगाली टिम बनेको छ, वास्तविक कुनै पोर्चुगाली क्लबकै तुलनामा । त्यसैले अहिले उल्भसलाई पोर्चुगाली राष्ट्रिय टिम भन्न सुरू गरिएको छ ।
- द गार्डियन,डेली मेली

अहिले इंग्लिस प्रिमियर लिगमा शीर्ष ६ स्थानका लागि चर्को न चर्को प्रतिस्पर्धा चलिरहेको छ । युरोपमा खेल्ने टिमको छनोट आफैंमा कठिन हुन थालेको छ । यिनै स्थानका लागि बलियो चुनौती दिने टिम बनेको छ, उल्भस । यसलाई ‘म्यान इन ओरेन्ज’ पनि भनिन्छ । सन् २०१८ मा मात्र यो फेरि एकपल्ट बढुवामा परेको थियो ।
त्यसयता उसले लगातार दुई सिजन सातौं स्थान हात पारेको छ । यसक्रममा टिम पहिलोपल्ट युरोपमा खेल्न छनोट भएको छ । अहिले उल्भसको चर्चा यसै कारणले मात्र सीमित छैन । उल्भस (उल्भरह्याम्पटन वन्डरर्स) को चर्चाको अर्को बलियो कारण बनेको छ, पोर्चुगाली खेलाडीको बाहुल्य । एक प्रकारले अविश्वसनीय रूपमा अहिले टिममा ९ पोर्चुगाली खेलाडी रहेका छन् ।
जस्तो केही नाम भनौं, रुइ प्याट्रिको, रुबेन नेभेस, जाओ मोउटिन्हो, नेल्सन सेमेडो, मिरन्डना भिटिन्ह, पेडेन्से, पेड्रो नेटो अनि फाब्रिजो सिल्भा । रमाइलो त अझ के छ भने टिमका व्यवस्थापक आफैं पनि पोर्चुगाली हुन् । उनी हुन् नुनो स्पिरिटो सान्टो । उनी त पोर्चुगाली राष्ट्रिय टिमका पूर्वगोलरक्षक समेत हुन् । उनी पनि ठूलै नामका हुन् ।  
एउटै टिममा यति धेरै पोर्चुगाली खेलाडी हुनु आफैंमा अनौठो संयोग मान्नुपर्छ । अझ दुर्लभभन्दा पनि हुन्छ । पोर्चुगाली फुटबलका तीन ठूला क्लब हुन्, बेन्फिका, पोर्टो र स्पोर्टिङ लिस्बन । यसमध्ये बेन्फिकासँग ३, पोर्टोसँग ६ र लिस्बनसँग ८ पोर्चुगाली खेलाडी छन् । यो संख्याले आफैंमा धेरै अर्थ बोक्ने गर्छ ।
यस्तोमा उल्भसले भलै प्रिमियर लिगमा खेल्छ, तर यो पक्का पोर्चुगाली टिम बनेको छ, वास्तविक कुनै पोर्चुगाली क्लबकै तुलनामा । त्यसैले अहिले उल्भसलाई पोर्चुगाली राष्ट्रिय टिम भन्न सुरु गरिएको छ । यसलाई हाकाहाकी पोर्चुगाली ‘बी’ टिम त भन्न सकिन्छ नै । उल्भस मध्य इंग्ल्यान्डको क्लब हो । भौगोलिक रूपमा यो ठ्याक्कै मध्यभागमा पर्छ ।
इंग्लिस फुटबलको नक्सामा यसलाई चम्काउने श्रेय भने जान्छ, जोर्गे मेन्डेसलाई । यी मेन्डेस विश्व फुटबलमा ‘सुपर एजेन्ट’ उपनामले चर्चित छन् । यो उपनाम स्वाभाविक पनि छ, किनभने उनी क्रिस्टियानो रोनाल्डो, हामेस रोड्रिग्वेज, डिएगो कोस्टा, डेविड डी जिया र जोसे मोउरिन्हो जस्ता ठूला नामका एजेन्ट हुन् ।

प्रशिक्षक नुनो स्पिरिटो सान्टा

उनको आफ्नै कम्पनी छ, जसको नाम जेटिफुटे हो । यसमा आबद्ध छन् विश्वस्तरीय सयभन्दा बढी खेलाडी । त्यसमध्ये माथि उल्लेख भएका नाम त भए नै । रमाइलो के छ भने यसमध्ये ८० प्रतिशत खेलाडी उनको आफ्नै देशका छन्, भनौं पोर्चुगलका । यसमा जोडिएको अर्को उल्लेखनीय पक्ष हो । उनको कम्पनीमा १५ प्रतिशत सेयर छ, चिनियाँ कम्पनी फोसुनको ।
मेन्डिसले त हो, फोसुनलाई फुटबल क्लब किन्न प्रेरित गरेको । अनि यो कम्पनीले किनेको क्लब अरू कुनै नभएर उल्भस नै हो । अनि मेन्डिसकै सिफारिसमा टिमको व्यवस्थापक हुने अवसर पाए, तिनै नुनोले । यी प्रशिक्षक आएपछि उल्भसका राम्रा दिन फर्किए । यसले बढुवा मात्र पाएन, प्रिमियर लिग आएयता आफ्नो उपस्थिति पनि दरिलो नै बनाएको छ ।
फेरि मेन्डिस र नुनोको सम्बन्ध पनि अहिलेको होइन । नुनो खेलाडी छँदा नै मेन्डिससँग उनको गहिरो चिनाजानी भइसकेको थियो । यस्तोमा उल्भसमा पोर्चुगाली खेलाडीको बाहुल्य हुनु के को पो आश्चर्य भयो र ? अहिले साहित्यिक पाराले भन्दा नुनो र मेन्डिस मिलेर उल्भसलाई ‘पोर्चुगाली कोलोनी’ नै बनाएभन्दा हुन्छ ।
यो सबै तथ्यको एउटा अर्को पाटो पनि छ । त्यो हो, उल्भसले अब पोर्चुगाली राष्ट्रिय टिमको निर्माणमा बलियो योगदान दिनसक्छ । सन् २०१० मा स्पेन र सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा खास एक–एक क्लबको बलियो योगदान रहेको थियो । त्यो भनेको स्पेनका लागि बार्सिलोना अनि जर्मनीका लागि बायर्न म्युनिकको ।
त्यतिबेला यी दुई टिममध्ये प्रत्येकमा बार्सिलोना र बायर्नका ठ्याक्कै समान ७ खेलाडी थिए । अहिलेको उल्भस टिमका पोर्चुगाली खेलाडीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नाडो सिल्भा, जाओ फेलिक्स र डिएगो जोटा थप्ने हो भने त सिंगै पार्चुगाली राष्ट्रिय टिम बन्छ । जोटालाई यसै सिजनको सुरुआतमा उल्भसले ४ करोडभन्दा बढी रकममा लिभरपुललाई बिक्री गरेको हो । त्यसयता उनले ९ गोल गरिसकेका छन् । उनले भन्दा बढी गोल लिभरपुलबाट यस सिजनमा मोहम्मद सलाहले मात्र गरेका छन् । अब यो टिम कम्तीको हुन्छ त ? अनि यसले कुनै ठूलो उपाधि जित्यो भने उल्भसको सान हेरिनसक्नु हुने पक्का छ ।

खेलकुद

विलियम्सनको दोहोरो टेस्ट शतक

- कान्तिपुर संवाददाता

वेलिङ्टन (रोयटर्स)– केन विलियम्सनले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको दोस्रो दिन शुक्रबार आफ्नो खेलजीवनको सबैभन्दा उच्च २ सय ५१ रनको स्कोर खडा गरेका छन् । यसक्रममा उनले लामो समयदेखि टेस्ट क्रिकेट नखेलेको कुनै छाँट देखाएनन् । यो उनको २२औं शतक हो भने दोहोरो शतकमा तेस्रो हो ।
न्युजिल्यान्डको पहिलो इनिङ्सको आधा जति रन उनकै नाममा रह्यो । विलियम्सन पूर्व कप्तान स्टेफन फ्लेमिङ र रस टेलरको समकक्षमा पुगेका छन् । दुवैले तीनपल्ट दोहोरो शतकको कोसेढुंगा पार गरेका छन् ।
न्युजिल्यान्डका लागि ब्रेन्डम म्याककलम यस्ता एकमात्र खेलाडी हुन्, जसले चारपटक २ सयभन्दा माथि रन बनाएका छन् । त्यसमा कीर्तिमानी ३०२ रन पनि समावेश छ । घरेलु टिमले ७ विकेटमा ५ सय १९ रन बनाउँदै आफ्नो पहिलो इनिङ्स समाप्ति घोषणा गरेको थियो । जवाफमा वेस्ट इन्डिजले बिना विकेट क्षति ४९ रन बनाएको छ । त्यसमा जोन क्याम्पवेल २२ र क्रेग ब्रेथवाइट २० रन बनाएर खेलिरहेका छन् । सेडन पार्कमा विलियम्सनले ९७ रनबाट दोस्रो दिनको खेल अगाडि बढाएका थिए ।
उनले ८६ रन बनाएका टम लाथमसँग दोस्रो विकेटमा १ सय ५४ रनको साझेदारी गरे । दिनको दोस्रो ओभरमै ३८ रन बनाएका रस टेलरलाई गुमाएयता विलियम्सनले केमर रोचको बलमा लगत्तै चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे । वेस्ट इन्डिज बलरमाथि उनी पूर्णतः हाबी रहे । उनले मध्यक्रममा हेनरी निकोलस, टम ब्लुन्डेल र ड्यारेल मिचेलसँग साझेदारी गर्दै आफ्नो दोहोरो शतक पूरा गरे । रोचकै बलिङमा कभर ड्राइभ गर्दै विलियम्सनले दोहोरो शतक बनाएका हुन् । केली जेमिसनको अर्धशतक पूरा भएलगत्तै कप्तान विलियम्सनले पहिलो इनिङ्स समाप्तिको घोषणा गरे । यसै वर्षमात्र डेब्यू गरेका २५ वर्षीय जेमिसनले आफ्नो सुरुआती तीन इनिङ्समा क्रमशः ४४, ४९ र ५१ नटआउट बनाएका छन् । उनले भारतविरुद्ध डेब्यू गरेका हुन् ।

ट्वान्टी–२० मा भारतको राम्रो सुरुआत
क्यानबेरा– भारतले पहिलो ट्वान्टी–२० मा शुक्रबार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । यससँगै भारतले तीन ट्वान्टी–२० को शृंखलामा १–० को अग्रता लिएको छ । अस्ट्रेलियामाथि भारतको यो लगातार दोस्रो जित हो ।
यसअघि भारतले तीन एकदिवसीय शृंखलाको अन्तिम खेलमा अस्ट्रेलियालाई हराएको थियो । टस हारेर ब्याटिङमा ओर्लेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ५१ रन बनाए ।
उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे । रवीन्द्र जडेजाले खेलको अन्त्यतिर ४४ रन बनाए । उनले २३ बलमात्र उपयोग गरे । जडेजा ह्यामस्ट्रिङ इन्ज्युरीका कारण मैदानमा उत्रेनन् । मिचेल स्टार्कको अन्तिम ओभरमा बल जडेजाको टाउकोमा लागेको थियो । उनको स्थानमा बलिङका लागि मैदानमा ओर्लेका युजभेन्द्र चाहल नै घातक साबित भए । जवाफी आक्रमणमा अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो । चाहलले २५ रन दिएर ३ विकेट लिए । कप्तान आरोन फिन्चले बनाएको ३५ रनले नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । भारतका टी नटराजनले पनि ३० रनमा ३ विकेट लिए । अब शृंखलाको दोस्रो ट्वान्टी–२० खेल सिड्नीमा आइतबार हुनेछ ।