You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

मूल्य वृद्धि चुलियो, नियमन छैन

- राजु चौधरी

(काठमाडौं) - दसैंअघि भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपैयाँ थियो । लगत्तै मूल्य बढेर १ सय ६३ रुपैयाँ पुग्यो । त्यसपछि क्रमशः बढ्दै अहिले प्रतिलिटर १ सय ९५ देखि २ सय रुपैयाँसम्म पुगेको छ । तेल मिलहरूले माघमा प्रतिलिटर एमआरपी मूल्य २ सय ४० देखि ६० रुपैयाँसम्म बनाउने तयारी गरिरहेका छन् । सनफ्लावर तेलको मूल्य पनि सोही दरमा अकासिएको छ ।
एक साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले १ सय २५ रुपैयाँ पुगेको छ । गत चैतमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३ सय २० रुपैयाँ र अन्डा प्रतिक्यारेट २ सय ८० रुपैयाँ थियो । अहिले ब्रोइलरको मासु
३ सय ७५ देखि ३ सय ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । त्यस्तै अन्डाको मूल्य प्रतिक्यारेट ४ सय ५० रुपैयाँसम्म पुगेको छ । मंसिरअघि प्रतिटिपर २२ हजार रुपैयाँ पर्ने गिट्टी अहिले बढेर ३० हजार रुपैयाँ पुगेको छ । प्रतिबोरा ६ सय ५० रुपैयाँ पर्ने सिमेन्टको मूल्य बढेर ७ सय, प्रतिकिलो ५७ देखि ६२ रुपैयाँ पर्ने डन्डी बढेर ८५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ ।
मूल्यवृद्धि भएका वस्तुमध्ये यी केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारभाउमा चलखेल बढ्दो छ । मूल्य बढ्नुको खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । खुद्रा व्यापार संघका अनुसार खानेतेलको मूल्य बढ्नुमा खास कारण नभए पनि आयातकर्ता र मिल सञ्चालकले अन्तर्राष्ट्रिय बजारमा बढेको बताउँदै मूल्यमा मनपरी गरेका छन् । पर्याप्त मात्रामा उत्पादन नभएको र माग बढेको जनाउँदै मासु र अन्डाको मूल्य बढाइएको छ । चाडबाड सकिएलगत्तै निर्माण सामग्रीको माग बढेपछि यसको मूल्य पनि चुलिएको छ । बजारभाउ नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । बजार अराजक हुँदासमेत विभागले बजारभाउ नियन्त्रण गर्न सकेको छैन ।
विभाग सरकारको निर्देशनमा चल्ने हुँदा बजार अराजक बन्दै गएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । विभागको अनुगमन बजार सुधारभन्दा राजस्व संकलनमा केन्द्रित हुँदा समस्या भएको उनको भनाइ छ । ‘मूल्य बढ्नुपर्ने कारण छैन । खाने तेल, मासु र निर्माण सामग्रीको मूल्य वृद्धि कृत्रिम हो । राजनीतिक अस्थिरता र आन्दोलनका कारण यस्तो भएको हो । राजनीतिक नेतृत्वलाई पैसा चाहिएको छ । पैसा बजारबाटै आउँछ, नेतृत्वले पैसा खोज्ने कारणले बजारभाउ बढेको हो,’ उनले भने, ‘मन्त्रालय र विभागबाट नै उद्योगीहरूसँग पैसा माग्ने काम भएको उद्योगीहरू बताउँछन् । यस विषयमा कसले अनुगमन गर्ने ? सरकारकै निर्देशनमा विभाग चल्यो, त्यही भएर बजार सुध्रिएन ।’
अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना पनि अहिलेको बजार अनुगमन देखावटी मात्रै रहेको टिप्पणी गर्छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्षसमेत रहेका उनले भने, ‘अनुगमन नभएको होइन, भइरहेको छ । तर केवल भत्ता पचाउन मात्रै गरियो । व्यवसायीसँगकै मिलेमतोमा ठूलालाई उन्मुक्ति र सानालाई जरिवाना गरियो । बजार सुधार गर्न उद्योग र आयातकर्तालाई कानुनी दायरामा ल्याउनु आवश्यक छ ।’
विभागको पछिल्लो अनुगमन विवरण हेर्दा पनि यस्तै देखिन्छ । विभागले पुस २३ गते १४ व्यावसायिक फर्ममा अनुगमन गरेको छ । जसमध्ये तीन वटा खाद्यान्न फर्म र बाँकी कपडा पसल छन् । २२ गते मासु, किराना, निर्माण सामग्री, औषधि, फर्निचर, मदिरा पसलसहित १६ व्यावसायिक फर्ममा अनुगमन गरेको छ । पुस २१ मा मदिरा स्टोर, पानी उद्योग, किराना पसल, निर्माण सामग्रीसहित
१३ फर्ममा अनुगमन गरिएको छ । २० गते पनि खाद्यान्न, मदिरा, किरानासहित १३ वटा फर्ममा अनुगमन गरिएको विभागको तथ्यांक छ । बजारमा विभागले अनुगमन गरे पनि मूल्य नियन्त्रणमा आउन सकेको छैन ।

उपभोग्य वस्तु उत्पादक अमृत, कुक, रामदेव, धारा, सनफ्लो, स्वस्तिक, गगनलगायत ब्रान्डले मूल्य बढाएको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘खानेतेल भारत पठाउँदा एक लिटरमै ५० रुपैयाँ फाइदा हुन्छ । त्यसैले यहाँ अभाव गराएर भारत पठाउने गरिएको छ,’ उनले भने, ‘मूल्य बढेको सन्दर्भमा सरकारलाई जानकारी गराए पनि सरकारले केही भएन ।’
श्रेष्ठका अनुसार विभागका केही कर्मचारी मिलवालाकै पक्षमा बोलिरहेका छन् । जसले गर्दा थप जटिलता भइरहेको उनले जानकारी दिए । ‘विभागकै कर्मचारीले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ । मिलले दिएको मूल्य ठीकै हो भन्दै मिलवालाको पक्षमा उभिएका छन्,’ श्रेष्ठले भने, ‘सबै मिलीभगत छ यहाँ ।’ मूल्यवृद्धिका विषयमा संघले नेपाल उद्योग वाणिज्य महासघ र चेम्बर अफ कमर्सलाई जानकारी गराउने निर्णयसमेत गरेको उनले बताए ।
यता नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोध गुप्ताले भने तेलको मूल्य बढ्नुमा आन्तरिकभन्दा बाह्य कारण भएको प्रतिक्रिया दिए । ‘पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि
उत्पादन कम छ, माग बढी भएपछि मूल्य प्रभावित भयो,’ उनले भने, ‘स्वदेशी उद्योगले चाहेर पनि मूल्य बढाउन सक्दैनन् । केही व्यक्ति र व्यापारीले बढाएका होइनन् । यसको कारण अन्तर्राष्ट्रिय नै हो ।’
स्वदेशमा पर्याप्त उत्पादन नहुँदा तेलमा पनि आयातकै भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए । उद्योगीहरूले सिंगापुर र मलेसियाबाट कच्चा पदार्थ आयात गर्छन् । त्यसपछि यहाँ रिफाइन गरेर पुनः भारत पठाउने गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले अनुगमन र मूल्य विश्लेषण गरिरहेको प्रतिक्रिया दिए । ‘हामीले व्यवसायीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेका थियौं । छलफलका क्रममा उनीहरूले आयातमै महँगो बताए । अहिले खरिद र बिक्री विवरण मागेका छौं,’ उनले भने, ‘एक–दुई दिनमा रिपोर्ट आउँछ । मूल्यवृद्धि प्राकृतिक हो कि कृत्रिम भन्ने पुष्टि भएपछि एक्सनमा जान्छौं ।’ वास्तविक कारण पत्ता नलागेकाले कसैलाई कारबाही गर्न नसकिएको उनले बताए ।

मुख्य पृष्ठ

१८ सय जनामा खोप ट्रायल गरिँदै

- स्वरूप आचार्य

(काठमाडौं) - अस्ट्रेलियन कम्पनीहरू क्लोभर बायोफर्मास्युटिकल्स र भ्याक्जाइन पीटीवाई लिमिटेडले उत्पादन गरेको कोभिड–१९ खोपको नेपालमा तेस्रो चरणको ट्रायल गर्ने तयारी थालिएको छ । चिनियाँ सिचुवान क्लोभर बायोफर्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफर्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले ‘इथिकल अप्रुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै, भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रिया अगाडि बढेको छ ।
दुईमध्ये क्लोभरको खोप कोभाक्सअन्तर्गतको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोपियन कमिसन र फ्रान्सको सहकार्यमा स्थापना गरेको विश्वका गरिब मुलुकहरूमा खोपलगायत कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामग्री तथा प्रविधिको पहुँच पुर्‍याउने
कार्यक्रम नै कोभाक्स हो । क्लोभरको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पतालमा गर्न लागिएको हो । यसका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) ले सहयोग उपलब्ध गराएको छ ।
अस्ट्रेलियन खोप ‘कोभाक्स–१९’ भने एनएचआरसीकै नेतृत्वमा ट्रायल गर्न लागिएको हो । यसको सम्पूर्ण आर्थिक भार कम्पनी स्वयंकै हुनेछ । तयारी प्रारम्भिक चरणमै रहेकाले थप जानकारी उपलब्ध गराउन नमिल्ने एनएचआरसीका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए । उनका अनुसार परिषद्को इथिकल रिभ्यु बोर्डले क्लोभर बायोफर्मास्युटिकल्सले प्रस्तुत गरेको खोपको ट्रायललाई स्वीकृति प्रदान गरिसकेको छ भने अस्ट्रेलियन खोपको ट्रायल गर्नेबारे प्रशासनिक र प्राविधिक काम भइरहेका छन् । क्लोभरको खोपको सम्बन्धमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तिम निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजानुपर्ने उनले बताए । ‘हामीले खोपका बारेमा इथिकल विषयवस्तु मात्रै हेर्ने हो । अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्छ,’ डा. ज्ञवालीले भने ।

‘हामीले परिषद्कै नेतृत्वमा गर्ने भनेको ट्रायलका लागि भने मन्त्रालयमा अझै छलफल भइरहेको छ ।’
शिक्षण अस्पतालमा हुने ट्रायलको नेतृत्व गरिरहेकी त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) की डिनसमेत रहेकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्यसिंह शाहका अनुसार आईभीआईको सहयोगमा हुन लागेको ट्रायल १८ सय जनामा गरिनेछ । ‘यो खोपको ट्रायल कोभाक्सअन्तर्गत हो । यो भ्याक्सिनको विश्वभर कुल ३४ हजार जनामा ट्रायल हुँदै छ,’ उनले भनिन्, ‘नेपालमा परीक्षणका लागि एनएचआरसीले स्वीकृति दिइसकेको छ । अब मन्त्रिपरिषद्को स्वीकृति बाँकी छ ।’ डा. शाहका अनुसार नेपालमा हुने ट्रायलमध्ये पहिलो चरणमा शिक्षण अस्पतालबाट १२ सय जनालाई र धुलिखेल अस्पतालमा ६ सय जनालाई खोप दिने तयारी छ । त्यही संख्याअनुसार दुवै केन्द्रमा आवश्यक पूर्वाधारसमेत तयार गर्न थालिएको छ ।
धुलिखेल अस्पतालमा हुने अनुसन्धानको नेतृत्व गरिरहेका औषधि विशेषज्ञ डा. राजीव श्रेष्ठका अनुसार पहिलो चरणमा नेपाललाई १८ सय जनामा परीक्षण गर्ने जिम्मा दिइएको भए पनि अनुसन्धान प्रक्रिया छिटो भए अन्यत्र हुने परीक्षणको संख्या पनि नेपालले प्राप्त गर्न सक्छ । ‘त्यस्तो भयो भने हामीकहाँ ५ हजार जनासम्ममा पनि खोपको परीक्षण हुन सक्छ,’ उनले भने । उनका अनुसार तेस्रो चरणको ट्रायलमा खोपको प्रभावकारिता कति छ भनेर मूल्यांकन गरिने हुँदा सुरक्षित मानिन्छ । ‘तेस्रो चरणको ट्रायलमा लगाउने खोप धेरै हदसम्म सुरक्षित हुन्छ,’ उनले भने, ‘पहिलो र दोस्रो चरणको ट्रायलमा कति मात्रामा कसलाई खोप दिने भन्ने यकिन भइसकेको हुन्छ । यो त अब केवल मूल्यांकनका लागि हो ।’ कोभाक्समा सूचीकृत खोप भएकाले जहाँ ट्रायल भए पनि नेपालमा आउने उनले बताए । नेपालमा आईभीआईअन्तर्गतकै टाइफाइडको खोपको पनि सफल ट्रायल गरिएकाले कोभिड–१९ को खोपको पनि ट्रायलका लागि अवसर दिइएको हो ।
स्वास्थ्य मन्त्रालय उच्च स्रोतले भने शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा गरिने ट्रायलमा संलग्न हुनेहरू करिब ३६ महिनासम्म निरन्तर सम्पर्कमा रहनुपर्ने भएकाले उक्त ट्रायललाई अहिले अगाडि नबढाउने पक्षमा इन्सिडेन्ट कमान्ड सेन्टर (आईसीएस) मा छलफल भएको दाबी गर्‍यो । ‘ट्रायलमा संलग्न हुनेहरूले अन्य खोप उपलब्ध भएको खण्डमा पनि त्यो लगाउन नपाउने स्थिति बन्छ भनेर आईसीएसले त्यसलाई अगाडि नबढाउने भनेको हो,’ स्रोतको भनाइ छ ।
क्लोभरले विकास गरेको खोपको ट्रायल विश्वका विभिन्न मुलुकमा गरी ३४ हजार जनामा हुनेछ । नेपाललगायत फिलिपिन्स, घाना र मोजाम्बिकलाई ट्रायल गर्नका लागि आवश्यक पूर्वाधार एवं तालिम उपलब्ध गराउन आईभीआईले सहयोग प्रदान गर्नेछ । यसका लागि आईभीआईलाई ‘कोयलेसन फर इपिडेमिक प्रिपियर्डनेस इनोभेसन्स’ (सीईपीआई) तथा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले समेत सहयोग गरेको आईभीआईको वेबसाइटमा उल्लेख छ ।

 

मुख्य पृष्ठ

केपी बा !

- बिनु सुवेदी

(काठमाडौं) - नेकपा फुट्ला फुट्लाजस्तो थियो, स्थायी कमिटी बैठकमा घमासान बहस भयो, प्रधानमन्त्री केपी शर्मा ओली चेपुवामा पर्दै गए । त्यही बेला फ्याट्टै दर्ता भयो नेकपा एमाले । त्यतिखेर बैठकमा उपाध्यक्ष वामदेव गौतमले भनेका थिए, ‘प्रधानमन्त्रीलाई बा भन्नेहरूले एमाले दर्ता गराए ।’ ओली
अप्ठ्यारोमा परेका बेला पार्टी फुट्छ भनेर अर्को पक्षलाई दबाबमा पार्ने यो ‘भरपर्दो’ अस्त्र थियो र कुरा हो गत भदौ ३ गतेको ।
नेकपा ओली समूहका नेता महेश बस्नेतले गत पुस १३ गते सुर्खेतमा पुगेर ओली राजनेता भएकाले उनलाई अबदेखि सबैले ‘केपी बा’ भन्नुपर्ने तर्क राखिरहेका बेला काठमाडौंमा नेकपाकै अर्को पक्षका अध्यक्ष माधवकुमार नेपाल भन्दै थिए, ‘केपी ओलीको बा प्रवृत्तिविरुद्ध हामी संघर्ष गर्दै छौं ।’ जुन कुरा नेपालले २०६५ तिर तत्कालीन एमालेको केन्द्रीय कमिटीमा पहिलोपटक उठाएका थिए । ‘केपी बा’ मन पराउने/नपराउनेको तर्क एकातिर छँदै छ, प्रधानमन्त्री ओलीलाई ‘केपी बा’ का रूपमा जबर्जस्त स्थापित गरिएको छ ।
‘बा प्रवृत्ति’ र यसका गुण अवगुणबारे तल चर्चा हुनेछ, अहिले भने ओलीलाई कहिलेदेखि र किन बा भन्न थालियो भन्नेतिरै जाऔं । २०६४ को संविधानसभा चुनावमा तत्कालीन माओवादी सबैभन्दा ठूलो दल भयो भने एमाले ३४ सिट ल्याउँदै तेस्रो दल बन्यो । त्यतिखेरै युवा नेता बस्नेतसहितको समूहले युथ फोर्स गठनको कुरा निकाल्यो, त्यसको अभिभावकत्व लिए ओलीले । त्यही बेलादेखि युवा संघकी निरु पालले ओलीलाई बा भन्न थालिन् । ‘उहाँ सबैको ख्याल गर्नुहुन्छ, अभिभावकीय भूमिका छ,’ पालले भनिन्, ‘पहिले मनमोहनलाई पनि बा भनिन्थ्यो, श्रद्धाले उहाँलाई पनि बा भन्न थालियो ।’
सिद्धान्ततः कम्युनिस्टहरू नातावाद र कृपावाद
रुचाउँदैनन् । २०४६ सालअघिको भूमिगतकालीन आन्दोलनमा अक्सर कम्युनिस्टहरू एक अर्कालाई मित्र भन्थे । १० वर्षे सशस्त्र द्वन्द्वका बेला माओवादी नेता–कार्यकर्ताले आपसमा कमरेड भन्थे । पछि सबै कम्युनिस्टहरूको साझा सम्बोधन कमरेड बन्दै आयो जुन विश्वका पुराना समाजवादी तथा कम्युनिस्ट पार्टीहरूले चलाएका हुन् । विशेषगरी समाजवादी र श्रमिक पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन ‘सेकेन्ड इन्टरनेसनल’ (सन् १८८९–१९१६) का छलफलहरूमा समानतामा आधारित सम्बोधन कमरेड चलेको थियो । सेकेन्ड इन्टरनेसनलबारे लेखिएको ‘फर्जिङ डेमोक्रेसी’ नामक किताबअनुसार सबै तहका नेताले सबै तहका नेतालाई कमरेड सम्बोधन गर्थे । समाजवादी तथा मार्क्सवादी आन्दोलनको सेकेन्ड इन्टरनेसनललाई समेत कम्युनिस्ट आन्दोलनको आधार मानेका नेपालका कम्युनिस्टहरूले सुरुमा त्यसैको नेपाली अनुवाद
मित्र र पछि कमरेड सम्बोधन गर्न थालेका थिए ।

तर राजनीतिको ४० वर्षपछि एमाले नेतृत्व र त्यसको ५ वर्षमा ठूलो कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष बनेका ओली भने कम कमरेड र ज्यादा बा बने । उनी कसरी बा बने भन्ने सन्दर्भमा विश्लेषक राजेन्द्र महर्जन २०४७ सालतिर फर्कन्छन् । ‘४७ सालदेखि नै ओलीले युवा संघका मान्छेलाई आफूअनुकुल बनाउन महिनाको एक दिन भोज खुवाउँथे, युवा संघका साथीहरूले केपी कमरेडकामा भोज खायौं भनेको सम्झना छ,’ उनले भने, ‘खुवाउने र खानेबीच समानतामा आधारित सम्बन्ध हुँदैन । त्यसपछि विस्तारै ओली संरक्षक हुने र अरू संरक्षित हुने कल्चर सुरु भयो, कालान्तरमा संरक्षितले उनलाई बा भन्न थाले ।’
तत्कालीन एमाले महासचिव मदन भण्डारीको ०५० मा निधन भएपछि माधवकुमार नेपाल महासचिव बने । सुरुमा एउटै समूहमा रहेका ओली र नेपालबीच फाटो आउन थाल्यो । नेपालले बेवास्ता गरेका नेतालाई ओलीले संरक्षण गर्न थाले, उनीहरू ओलीप्रति नतमस्तक हुँदै गए, ओली कमरेडबाट विस्तारै बा बने । नेकपा केन्द्रीय सदस्य महेश बस्नेतको भनाइ पनि यही छ । ‘केही समस्या परेर माधव कमरेड, झलनाथ कमरेडकामा जाँदा टार्ने, हप्काउने गर्नुहुन्थ्यो,’ उनले भने, ‘ओलीकहाँ गए १०/२० हजार दिएर पठाउने, कुनै अस्पतालमा भनेर पैसा कम गराइदिने, प्रहरी प्रशासनमा डिल गर्नुपर्ने हो कि, गरिदिनुहुन्थ्यो । बाले गर्नुपर्ने व्यबहार उहाँबाट पाउँथ्यौं ।’ ०६४ मा जब निरु पालले ओलीलाई बा भन्न थालिन्, बस्नेतले पनि सुरु गरे । त्यसपछि युवा संघ र अखिलका ओलीपक्षीय नेता–कार्यकर्ताले ओलीलाई बा भन्ने, कतै यात्रामा निस्किए एस्कर्टिङ गर्ने, ओली पुग्ने ठाउँमा छुट्टै सान–सौकतसहितको आसन बन्दोबस्त गरिदिने, कार्यक्रम स्थलभर ओलीकै फोटो टाँस्ने परम्परा सुरु गरे । यो परम्परामा दुवै पक्ष रमाउन थाले । ‘अहिले त युवा र विद्यार्थीले उहाँलाई बा, मलाई दाइ भन्छन्,’ बस्नेतले सुनाए ।
पछिल्लो समय यसले झन् बढोत्तरी पायो । विश्लेषक तथा लेखक हरि रोका कमरेड भन्नेहरू टाढा र बा या दाइ भन्नेहरू नजिक हुँदै जाँदा कम्युनिस्ट पार्टीहरूमा सैद्धान्तिक विचलन आउन थालेको बताउँछन् । ‘तत्कालीन एमालेमा बा जस्तै माओवादीमा दाइ कल्चर रहेछ । यसले एउटा गुट विकास गर्दो रहेछ,’ उनले भने, ‘त्यसपछि आफ्नो कुरा राख्दा कमरेड भन्ने टाढा भए, बा दाइ भन्ने नजिक पुगेर परिवारको सदस्यजस्तो भए । त्यसले सैद्धान्तिक र राजनीतिक कुरालाई छल्ने नै भयो ।’ मान्छे विचारको नभई बा या दाइको पछाडि लाग्न थालेपछि सिद्धान्तको राजनीति हराउने र आफ्नाको व्यवस्थापनमै नेताहरूको दिन ढल्ने रोकाको भनाइ छ ।
नेता बस्नेत कमरेड र मित्रको सम्बोधनले आत्मीय सम्बन्ध नहुने भएकाले त्यसलाई परिवर्तन गरिएको तर्क गर्छन् । उनको भोगाइमा ओली एकदमै हेरविचार गर्ने नेता हुन् । ‘एकचोटि म उहाँको निवासमा पुगेको थिएँ, पुसका बेला स्वेटरमात्रै लगाएको थिएँ, उहाँले यसो हेर्नुभयो, युवा मान्छेलाई निमोनिया होला भनेर भित्रबाट रसियन कोट ल्याएर दिनुभयो,’ बस्नेतले भने, ‘अर्कोपटक म चीन जाने कुरा भएको थियो, केपी बाले कताबाट थाहा पाउनुभएछ, बालकोट पुगेको थिएँ, गाडीमा हालेर बागबजार पुर्‍याउनुभयो । कोटपाइन्ट अर्डर गरेर चीनमा कोटपाइन्ट, टाई लगाउनुपर्छ, हाम्रा युवा नेताको पारा ल्याङफ्याङे छ भन्नुभयो । यति धेरै केयर गर्ने मान्छे बा नभए को हुन्छ ?’
ओलीले अनेमसंघका धेरै कार्यकर्तालाई पनि तीजमा साडी किनिदिएका छन् । ‘उहाँले हरेक तीजमा अनेमसंघका नेतृहरूलाई साडी किनुहुन्थ्यो,’ नेकपा नेता उर्मिला अर्यालले भनिन्, ‘मलाई पनि धेरैपटक उपहार दिन खोज्नुभयो, मानिनँ । दिएर आफ्नो बनाउने खालको हुनुहुन्छ केपी कमरेड ।’ अहिले पनि ओलीको संरक्षकत्वमा रहेकालाई अप्ठ्यारो पर्दैन भनिन्छ । तर पार्टीका नेताहरूबीच एउटा संरक्षक र अर्को संरक्षित हुँदा त्यसले विस्तारै अधिनायकवादी चिन्तन बढाउँदै जाने विश्लेषक महर्जनको बुझाइ छ । ‘प्रश्न सोध्दा बा त रिसाउँछन्, बालाई छोराछोरीभन्दा आफैं जान्ने छु भन्ने लाग्छ,’ उनले भने, ‘सही भने पनि गलत भने पनि त्यसैको पछि दौडिने जमात बढ्छ ।’
ऐतिहासिक दस्ताबेजका अनुसार तत्कालीन उत्तर भियतनामका राष्ट्रपति हो ची मिन्हलाई काका सम्बोधन गरिन्थ्यो, भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई चाचा भन्ने गरिन्थ्यो । नेपालमा पृथ्वीनारायण शाहलाई राष्ट्रपिता भन्ने गरिन्थ्यो । गणतन्त्र आएपछि भने उनको भूमिकामाथि आलोचनात्मक टिप्पणी हुन थाल्यो । तर ‘केपी बा’ को उदय भयो । समाजशास्त्री मीना पौडेल यसलाई दुई कोणबाट हेर्नुपर्ने बताउँछिन् । ‘अहिले प्रधानमन्त्री र अरू नेताले पनि मेरा प्यारा दाजुभाइ दिदीबहिनीबाटै औपचारिक कार्यक्रमको सुरुवात गर्छन्, यो हिजो राजाले मेरा प्यारा प्रजा भनेको जस्तो हो,’ उनले भनिन्, ‘त्यसमाथि बा प्रवृत्तिले पहिलो त सामन्ती पितृसत्तात्मक संरचनालाई स्वीकार गरेर संस्थागत गरेको छ, दोस्रो दास मनोवृत्ति विकास गरिदिएको छ ।’ उनले यही प्रवृत्ति बढ्दै गयो भने मुलुकको सामाजिक, सांस्कृतिक विकासक्रम नै अप्ठ्यारोमा पर्ने बताइन् । ‘बाले भनेका सबै ठीक हुन् भनेर संस्थागत गर्न थालियो भने सार्वजनिक नीतिमा पनि प्रभाव पर्न सक्छ, त्यो मान्छेले भनेको कुरा अकाट्य हुने स्थिति बन्न सक्छ,’ समाजशास्त्री पौडेलले भनिन्, ‘भोलि राजनीतिमा बा प्रवृत्ति संस्कृति नै बन्ने हो कि भन्ने डर हो । यसो हुँदा त्यो राजनीतिज्ञले भनेका कुरा बिनाविवाद राजनीतिक नीति बन्छन्, त्यसले असर पार्न सक्छ, जुन पहिले राजा रजौटाकालमा हुने गर्थ्यो ।’

Page 2
समाचार

अंगिराको मृत्युपछि शान्तिलाई पीडैपीडा

- जनकराज सापकोटा,सन्जु पौडेल

(काठमाडौं/बुटवल) - कलिलो उमेरमा बलात्कारपछि मृत्यु भएकी छोरीको आत्माले न्याय पाउला, नपाउला उनलाई थाहा छैन । छोरीको मृत्युपछि उनलाई समाजले दिएको पीडा झन् गहिरिँदै गएको छ । पछिल्ला साढे सात महिनामा आफैंले कति आँसु बहाए भन्ने हिसाब देवदह नगरपालिका–११ बडकीगुम्बी टोलकी शान्ति पासीले राखेकी छैनन् ।
गत जेठ ९ गते उनकी १३ वर्षीया कान्छी छोरी अंगिरा पासीलाई स्थानीय २७ वर्षीय वीरेन्द्र भरले बलात्कार गरेका थिए । बलत्कारपछि स्थानीय अगुवा र वडाध्यक्ष अमरबहादुर चौधरीसहितले अंगिरालाई ‘जर्बजस्ती’ केटाको जिम्मा लगाएर पठाए । वीरेन्द्रले घरमा भित्र्याउन खोज्दा आमा अकालीदेवीले कुटपिट गरेर लखेटिन् । भोलिपल्ट साँझ अंगिराको शव रोहिणी खोलाछेउ भिलोरको रूखमा पासो लगाएर झुन्डिरहेको अवस्थामा फेला पर्‍यो । घटनाको ६ दिनपछि प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट वीरेन्द्रलाई र घरबाटै उनका आमा अकालीदेवी र ठूलीआमा शीतलीलाई पक्राउ गर्‍यो । कसुरदार पक्राउपछि थोरै भए पनि शान्तिको सास फेरेकी शान्ति छठको साँझ हावासरी हुँदै आएको एउटा खबरले शीतांग भइन् । जबर्जस्ती करणी, जातीय छुवाछूत र आत्महत्या दुरुत्साहनको मुद्दामा थुनामा रहेका वीरेन्द्रका आमा अकालीदेवी भर र ठूलीआमा शीतली भर १ सय ४३ दिन थुनामा बसेर उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा मंसिर ४ गते छुटेछन् । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता डम्मरप्रसाद काफ्लेले उच्च अदालत तुलसीपुर बुटवल इजलासले मागेपछि मुद्दाको मिसिल उतै पठाइएको थियो । उनले भने, ‘फाइल फिर्ता नआएको हुँदा थुनछेक आदेशान के भएको छ भन्ने थाह भएन ।’
थुनाबाट छुटेको केही दिनमै शान्तिको अकालीदेवीसँग बाटोमै जम्काभेट भयो । अकालीले देख्नेबित्तिकै मुखभरिको गाली गरिन् र भनिन्, ‘तेरी छोरी त मरी । अब फर्केर आउँदिनँ । हेर्दै जानू, म जसरी नै मेरो छोरा पनि फर्केर आइहाल्छ ।’ अकालीले त्यसो भनेको रातभर शान्तिलाई निद्रा परेन । कतै अकाली र शीतलीहरू आएर घाँटी थिचेर मारिदिन्छन् कि भनेर उनको मनभरि कुरा खेलिरह्यो । उनले यति भन्नेबित्तिकै आँखाका डिल भरिए । उनले सारीको सप्कोले आँसु पुछिन् ।
अंगिराका छिमेकी सन्दीप पासीका अनुसार उनीहरू छुटेको भोलिपल्ट छठपूजा थियो । त्यो साँझ शीतली रोहिणी खोलाछेउमा पूजा गर्न बसेकाहरूलाई ‘हामी छुटेर आयौं, अब एकदिन छोरा पनि छुटिहाल्छ’ भनेर सुनाउँदै हिँडेकी थिइन् ।
छोरीमाथि बलात्कार भएपछि प्रहरीमा मुद्दा दर्ता गर्दा खेपेको हैरानी, अदालती प्रक्रिया नबुझ्दाको सास्ती र छुटेर आएकाहरूले देखाउने धम्कीपूर्ण व्यवहारले शान्तिको मनमा चोट थपिदिएका छन् । दस वर्षअघि श्रीमान् बितेपछि शान्तिले चार छोरी र एक छोरालाई आफ्नै बलबुताले हुर्काएकी थिइन् । तीन छोरीको बिहेपछि उनले अंगिरा र करिब १८ वर्षका छोरा दीपेन्द्रलाई हुर्काइरहेकी थिइन् । अंगिराले घरधन्दा, घाँस काट्ने र बस्तुभाउको सबै काम धानिदिएकैले शान्ति र दीपेन्द्रले ज्यालादारी काममा जान पाएका थिए । दुवैले दिनमा जनही साढे पाँच सयका दरले कमाउँथे, जसबाट घर खर्च धानेको थियो ।
अंगिराको बलात्कार र मृत्युपछि शान्तिका सबै काम बिथोलिए । मनमा गहिरो चोट त छँदै छ, घर व्यवहार धन्दाको सास्तीले उनी थप आत्तिएकी छन् । शान्तिले सुनाइन्, ‘पहिला पो झाडु पोछा, खाना बनाउने, घाँस भुसाको सब काम अंगिराले गरिदिन्थी । म काममा जान्थें । अहिले सबै काम मेरो थाप्लोमा परेको छ ।’ शान्ति ज्यालादारी काममा जान छाडेकी छन् ।
दीपेन्द्र बिहान काममा जान्छन् । साँझ थकानले लोत भएर फर्किन्छन्् । बिमार परेका बेला शान्तिको मन झनै अंगिरातिरै एकोहोरिन्छ । उनले भनिन्, ‘खुट्टा दुखेका बेला अंगिराले मालिस गरिदिन्थी । अहिले कसले गर्छ भन्ने सम्झिन्छु अनि रून्छु ।’ घाँस काट्ने, कुडो बनाउने, पोछा लगाउने बेला पनि शान्तिलाई अंगिराको याद आइरहन्छ । ‘मन भुलाउन खोज्छु, तर अंगिराको सम्झनाले छोपिहाल्छ’, उनले भनिन्, ‘राति सपनामा पनि अंगिरा आएर बोलाएजस्तो लाग्छ ।’
छोरी झुन्डिएको रोहिणी खोला किनारको बाटो भएर उनी नहिँडेको साढे सात महिनाभन्दा धेरै भयो । त्यति नै महिना भयो, शान्ति साँझ ढल्किन थालेपछि घर बाहिर निस्कन छाडेको । त्यति नै महिना भयो उनी बजार गर्न र घाँस काट्न एक्लै जान छाडेको । उनले भनिन्, ‘कसैले केही गरिहाल्छ कि भनेर डर लाग्छ । साथीबिना हिँड्दिनँ ।’ शान्तिको घरमा झ्याल/ढोका छैन । बन्दाबन्दै वर्षौंदेखि अधकल्चो रहेको घरको पिँढीमा उनी चारपाई (डोरीको खाट) मा सुत्छिन् । उनले भनिन्, ‘कोही आउँछ, मेरो घाँटी न्याक्छ कि जस्तो हुन्छ अनि निद्रै पर्दैन । राति १२/१ बजेपछि कसो कसो निदाउँछु ।’ वीरेन्द्रकी आमासँगै पक्राउ परेकी शीतलीका दुई छोराले चारपाँच पटक साँझ ढल्केपछि शान्तिको घर अगाडि आएर चर्कोसँग कराउँदै उनलाई गाली गरे, जे पनि गर्न सक्ने भन्दै धम्क्याए । छिमेकी सन्दिपले सुनाए, ‘पुलिसलाई भनेपछि उनीहरू आउन छाडे । तर त्यसपछि अंगिराकी आमा झनै धेरै डराउन थाल्नुभयो ।’
बलात्कारपछि अंगिरालाई गाउँले र वडाध्यक्षले वीरेन्द्रको जिम्मा नलगाएको भए के हुन्थ्यो ? शान्तिको मनमा यस्तो कुरा तारन्तार आउँछ । गाउँका बुज्रुक भेला भएर होहल्लाको शैलीमा वीरेन्द्रको हातमा अंगिराको हात बाँधिदिएपछि उनले टुलुटुलु हेर्ने शिवाय केही गर्न सकिनन् । घटनापछि अनेकतिरबाट नेता, अधिकारकर्मी र अगुवा आएर उनलाई सान्त्वना दिएपछि शान्तिले मन बुझाउन थालेकी थिइन् । केही साताअघि उनको टोलमा अनौठो हल्ला चल्यो । वीरेन्द्रकी एक आफन्ती अंगिरा झुन्डिएको खोलाछेउ खेतमा काम गर्न गएकी थिइन् रे । त्यही बेला अंगिराको भूतले उनलाई तर्सायो रे । हल्ला शान्तिको कानसम्म आइपुग्यो । त्यसपछि धेरै दिनसम्म शान्तिको मनमा तुफान मच्चियो । छोरीको आत्मालाई पनि शान्त रहन दिएनन् भनेर उनले सोचिन् ।
छिमेकी सन्दीपका अनुसार अंगिराको मृत्युपछि बडकीगुम्बी टोल दुई भागमा बाँडिएको छ । पासी समुदाय र छिमेकका चौधरी तथा भर समुदायबीच मनोमालिन्य छ । कतिपयबीच बोलचाल बन्द भएको छ । स्थानीय जनप्रतिनिधिले एउटै टोलका दुई समूहबीचको बेमेल मिलाउन प्रयास गरेनन् । अंगिराका एक छिमेकीले सुनाए, ‘हाम्रै विरादरीका भए पनि टोल सुधार समितिका अध्यक्ष अंगिराको घरमै आएनन् ।’
छोरीको मृत्युपछि रित्तो जस्तै भएको घर रुँघिरहेकी शान्तिले १३ औं दिनमा ऋण लिएको ४० हजार खर्चेर आफन्ती र
आफ्नो विरादरीकालाई भोज खुवाइन् । त्यो भोजमा पनि छेउछाउमा भोर र अरू कथित उपल्ला जातिहरूका आएनन् ।
मुलुकी अपराध संहिताको दफा २१९ (२) अनुसार मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरे बलात्कार गरेको मानिन्छ । कानुनमा यस्तो कसुर गर्नेलाई १० वर्ष वा १० वर्षभन्दा बढी, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरे १८ देखि २० वर्षसम्मको कैद सजायको व्यवस्था छ । शान्तिलाई यस्तो कानुनी परिभाषाबारे धेरै थाहा छैन । नलाई कसरी शीतली र अकाली छुटेर आए, छोरीको मुद्दा कहाँ पुगेको छ थाहा छैन । वीरेन्द्र पनि यसैगरी फुत्त छुटेर आउँछन् कि भनेर डर लाग्छ । उनले भनिन्, ‘मेरी छोरी त फर्केर आउँदिनँ । तर छोरीलाई त्यस्तो हालतमा पुर्‍याउनेलाई कहिल्यै देख्न नपरोस् ।’

समाचार

भारतसँग वार्तामा नेपालका १२ एजेन्डा

नेपाल–भारत छैटौं संयुक्त आयोग बैठक
- जगदीश्वर पाण्डे

(काठमाडौं) - नेपाल–भारत छैटौं परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठकका लागि नेपालले यसै वर्ष लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर जारी गरेको चुच्चे नक्सा र कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर एक दर्जन एजेन्डा तयार पारेको छ ।
परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाको नेतृत्वमा दुई मुलुकबीच माघ १ र २ गते नयाँदिल्लीमा हुन लागेको संयुक्त आयोग बैठकको एजेन्डा (विषयवस्तु) हरू तयार गरिएको हो । मन्त्रालय स्रोतबाट कान्तिपुरलाई प्राप्त सूचनाअनुसार द्विपक्षीय वार्ताका लागि करिब एक दर्जन विषय छनोट गरिएका छन् । त्यसमध्ये नेपालले जारी गरेको चुच्चे नक्सा प्राथमिकतामा छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर नक्सा जारी गरे पनि उक्त भूभाग अहिले भारतीय अधीनमै छ । उक्त भूभाग फिर्ता ल्याउनका लागि छलफलको मुख्य विषय चुच्चे नक्सालाई बनाउन लागिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको बैठकमा मुख्य एजेन्डा नक्सा रहेको दाबी गरेका छन् । राष्ट्रिय सभालाई आइतबार सम्बोधन गर्ने क्रममा दुई मुलुकबीचको बैठकमा नक्साको विषयमा छलफल हुने दाबी गरे । ‘अबको तीन दिनपछि हाम्रो परराष्ट्रमन्त्री माननीय प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदै हुनुहुन्छ, उहाँले हामीले हाम्रो भूभागसमेत सामेल गरेर छापेको नक्सा अथवा नक्सामा छापिएकासहित विभिन्न विषयमा छलफल गर्नुहुनेछ,’ उनले भने, ‘हाम्रो भारतसँगको सम्बन्धलाई व्यावहारिक रूपमा सफलतापूर्वक अगाडि बढाउनका लागि योगदान गर्नुहुनेछ ।’
अर्को महत्त्वपूर्ण एजेन्डाका रूपमा कोरोना भाइरसविरुद्धको खोप रहेको छ । भारतका विदेश सचिवले हर्षवर्धन श्रृंगलाले मंसिरमा नेपाल भ्रमणको दौरान भारतमा उत्पादन हुने कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराउन नेपाललाई उच्च प्राथमिकतामा राखेको जनाएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले यसपटकको बैठकमा खोपको विषयमा पनि नेपालको मुख्य चासो रहने कान्तिपुरसँग बताए । ‘कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि भारतले नेपाललाई सहयोग गरिरहेको छ, यसमा हामी भारतलाई धन्यवाद दिन्छौं, अब कोरोना भाइरसविरुद्धको खोपलाई लिएर पनि हामी भारतसँग छलफल गर्नेछौं,’ मन्त्री ज्ञवालीले भने ।
यस्तै काठमाडौंमा भएको पाँचौं संयुक्त बैठकमा मुख्य गरी उठाइएका नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपाल–भारतबीचको सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिको बारेमा यसपटक पनि छलफल हुने मन्त्रालय स्रोतले बतायो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक २०७६ को भदौमा काठमाडौंमा बसेको थियो ।
नेपाल–भारतबीचका तमाम विषयलाई समेट्ने गरी ६ वर्षअघि दुवै मुलुकले प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरेको थियो । ईपीजीले तीन वर्षअघि प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने, त्यसपछि नेपालको प्रधानमन्त्रीलाई बुझाएपछि सार्वजनिक गर्ने भनेर ईपीजीले निर्णय गरेको थियो तर भारतले उक्त प्रतिवेदन हालसम्म लिन नमानेपछि अलपत्र परेर बसेको छ । ‘यसपटक पनि यो विषयमा छलफल हुन्छ,’ मन्त्रालयका एक उच्च पदाधिकारीले भने । उनका अनुसार सन् १९५० मा दुई मुलुकबीच भएको शान्ति तथा मैत्री सन्धिको विषयमा पनि छलफल गर्ने एजेन्डा छ । नेपालले उक्त सन्धि असमान भएको भन्दै लामो समयदेखि पुनरावलोकनका लागि आवाज उठाउँदै आइरहेको छ । भारतले भने सन्धिलाई पुनरावलोकन गर्न मानिरहेको छैन ।
नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट निर्माण भएका सडक, कल्भर्टलगायत भौतिक संरचनाका कारण नेपालका दक्षिण क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ । दुई मुलुकबीचको उक्त समस्या समाधानका लागि डुबान, बाढी नियन्त्रणका विषयमा पनि छलफल गर्ने परराष्ट्रको एजेन्डा छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बैठकका एजेन्डाहरूबारे गृहकार्य भइरहेको कान्तिपुरलाई बताइन् ।
यस्तै, दुई मुलुकबीचको आर्थिक सहयोग, द्विपक्षीय व्यापार, विभिन्न विकास परियोजना, रेल सञ्जाल, ऊर्जा, प्रविधि आदान–प्रदान र भूकम्पपछिको पुनर्निर्माणको विषयमा संयुक्त आयोगको बैठकमा छलफल गर्ने एजेन्डा मन्त्रालयले तयार गरेको छ । दुवै मुलुकको राजनीतिक तहमा उक्त संयन्त्र बनाउने सहमति भएपछि पहिलोपटक २०४४ सालमा स्थापना गरिएको थियो । उक्त आयोगले दुई मुलुकबीचका समस्यालाई समाधान गर्न र सम्बन्धलाई थप बलियो बनाउनका लागि बढाइएको हो ।

के–के छन् एजेन्डा ?
१. चुच्चे नक्सालगायत सीमा विवाद
२. कोरोना भाइरसको खोप
३. ईपीजी प्रतिवेदन
४. सन् १९५० को शान्ति तथा मैत्री सन्धि
५. आर्थिक सहयोग
६. द्विपक्षीय व्यापार
७. विभिन्न विकास परियोजनाहरु
८. रेल सञ्जाल
९. ऊर्जा
१०. डुबान र बाढी नियन्त्रण
११. प्रविधि आदान–प्रदान
१२. भूकम्पपछिको पुनर्निर्माण

Page 3
समाचार

सर्वोच्चले विघटनविरुद्धको मुद्दा खारेज गर्नुपर्छ : ओली

‘प्रतिनिधिसभा पुनःस्थापना केका लागि गर्ने ? कसरी हुन्छ ? कुन विकल्पका लागि हुन्छ ?’
- ऋषिराम पौड्याल

(काठमाडौं) - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले बर्खास्त (खारेज) गर्नुपर्ने बताए । उनले कार्यकारी प्रधानमन्त्रीले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु कानुनी र संवैधानिकभन्दा राजनीतिक विषय भएको दाबी गरे ।
राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै उनले देश कसरी चलाउने यो राजनीतिक प्रश्न भएको बताए । ‘विघटनको निर्णय संवैधानिक र कानुनी प्रश्न वास्तवमा होइन, त्यसैले अदालतले कानुनी र संवैधानिक प्रश्नका रूपमा इन्टरटेन गर्नुभन्दा केही भन्न नपर्ने भनेर खारेज गर्नुपर्छ,’ उनले भने, ‘यो राजनीतिक निर्णय हो ।’ पोलिटिकल डिसिजनअनुसार राजनीतिक अभ्यास गर्न दिनुपर्ने उनले बताए । ‘प्रतिनिधिसभा पुनःस्थापना केका लागि गर्ने ? कसरी हुन्छ ? कुन विकल्पका लागि हुन्छ ?’ उनले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा देशमा अस्थिरता आउने दाबी गरे । सडकबाट अदालतलाई प्रभाव पार्न खोजिएको बताइरहेका ओली आफैंले भने पुनःस्थापना कुनै पनि हालतमा नहुने ठोकुवा गरे । उनले प्रधानमन्त्रीले विघटन गर्न पाउँदैन भनेर संविधानमा कतै नलेखिएको दाबी गरे । केही कानुनविद्हरू दुर्मुखा भएको देखेर आफूलाई दया लागेको उनले बताए । सम्बोधनका क्रममा ओलीले अधिकांश समय नगारिक समाज, नेकपाको दाहाल–नेपाल समूह, तीन दिनअघि वक्तव्य जारी गरेका पूर्वप्रधानन्यायाधीश र कानुनविद्माथि आक्रोश पोखे । पुनःस्थापनाको माग गर्नेहरू झुन्ड मात्रै भएको आरोप उनले लगाए । प्रतिनिधिसभा पुनर्बहालीको माग गर्नेहरूले मुलुकको संस्कृति र सभ्यतामा प्रहार गरेको उनले बताए ।
उनले पूर्वप्रधानन्यायाधीशहरूप्रति लक्षित गर्दै कुनै बेला न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि आफैं न्यायालयमा छु भनेजस्तो गरेर धारणा सार्वजनिक गरेको प्रसंग दोहोर्‍याए । ‘वक्तव्य निकाल्ने न्यायमूर्तिहरूले प्रधानन्यायाधीश भएका बेला आफ्नो समयमा कस्तो न्याय दिनुभएछ ?’ उनले भने, ‘पत्रकार सम्मेलन गर्ने र वक्तबाजी गर्नेहरूले मात्र कानुन पढेका छन् । अरूले पढेका छैनन् ? के सर्वोच्च अदालतमा वकालत नगरी बिनाअनुभव मान्छे पुगेका छन् ?’ संविधानमा प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको धारणासहित चार जना पूर्वप्रधानन्यायाधीशले शुक्रबार संयुक्त वक्तव्य जारी गरेका थिए ।
अहिलेको संविधानले संवैधानिक विषयमा संवैधानिक इजलास गठन गरेर त्यसबाट फैसला गर्ने व्यवस्था गरेको धारणा राख्दै उनले अगाडि भने, ‘त्यसबाट फैसला गर्न पाइँदैन भन्ने एकाथरीले कहाँ कानुन पढेछन् ?’ संवैधानिक इजलास राख्ने संविधानको व्यवस्था हो कि होइन ? भन्दै ओलीले कानुन–व्यवसायीले बकबास गरेर हिँडेको आरोप लगाए । दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै उनले भने, ‘कहिले प्रतिनिधिसभा विघटन भयो भन्दै मुद्दा हाल्न जाने, कहिले विघटन भएको छैन प्रतिनिधिसभा बैठक बस्छौं भन्ने, सडकमा जान्छौं पनि भन्दै गर्ने, अदालत जान्छौं पनि भन्ने ।’ ओलीले स्वतन्त्र भनिनेहरू राजनीतिक पक्षधरताका आधारमा लागेको बताए । विघटन संविधानसम्मत छैन भन्दै मान्छे उचाल्नेहरूलाई संविधान पढ्न सुझाव दिए । उनले भने, ‘कमसेकम संविधान पढ्नुस् अनि बहस गर्नुस् ।’ स्वतन्त्र रूपमा न्याय सम्पादन गर्न बाधा पुर्‍याउने गरी सडकमा गतिविधि भएको दाबी उनले गरे । उनले भने, ‘कुनै अधिवक्ताले प्रधानन्यायाधीशलाई वर्तमान र भविष्य सम्झेर मुद्दा फैसला गर्नु भनेका छन्, के यो धम्की होइन ?’ न्यायालयले दबाबमा पर्न नहुने धारणा राख्दै आफू र आफ्नो पार्टी नेकपाले शक्तिपृथकीकरणको सिद्धान्तलाई मान्ने बताए । ६–६ महिनामा सरकार परिवर्तन गर्ने तमासा गर्न प्रतिनिधिसभा पुनःस्थापना नहुने उनले बताए । बाह्य शक्तिको गोटी बन्ने र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने अवस्था आएपछि आफूले प्रतिनिधिसभा विघटन गरेर स्थिरता दिने प्रयास गरेको उनको भनाइ थियो ।
आफूले अध्यक्ष किन र कसलाई छाड्ने भन्दै उनले भने, ‘पद कमण्डलु थाप्दैमा दिने सिक्का हो र ?’ आफूविरुद्ध त्यस्तै खालका केही झुन्डलाई बुद्धिजीवीका प्रयोग गरिएको उनले दाबी गरे । उनले अखबारले विशाल जनसभाको होइन, सरकारविरोधी सानो झुन्डको फोटो छाप्ने गरेको बताए । उनले भने, ‘अब गफ पिट्ने दिन गए । गफ पिटेर हुँदैन, मैदानमा प्रतिस्पर्धा गरौं ।’ केही दुर्मुखा कानुनविद्हरूदेखि आफूलाई दया लाग्ने गरेको भन्दै उनले राष्ट्रपतिको संस्थालाई बदनाम गराउनेहरू गणतन्त्रविरोधी भएको बताए । देश र जनताको हितमा गति लिने गरी काम गर्न नसकेकाले विघटनको सिफारिस गरेको उनले बताए । कुनै भ्रममा नपर्न आग्रह गर्दै उनले प्रतिनिधिसभा विघटन हुनु रुलिङ पार्टीको आन्तरिक मामला भए पनि सामान्य कुरा होइन, बहुमत प्राप्त पार्टीको समस्या भएको उनको भनाइ थियो । उनले निर्वाचनपछि पार्टी एकजुट हुनुपर्नेमा झन् फाटोतिर गएको बताए । आफूले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएर पुष्पकमल दाहाल र माधव नेपाल माइतीघरमा हामी यहाँ छौं भनी सडकमा बसेको प्रसंग दोहोर्‍याउँदै उनले अँगेनाको डिल, अर्याल होटल, खुमलटार, कोटेश्वर, कहाँ, कहाँ निर्णय गरेर हुँदैन । संसद् विघटन भइसकेपछि रन्थनिएका केही मान्छेहरूले साढे तीन बजे अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको बताउँदै उनले थपे, ‘हाम्रा सभामुखले घुँडामा राखेर १० बजेर ४० मै निवेदन मकहाँ ल्याएको भनेर प्रमाणीकरण गरेछन् ।’ उनले सभामुख अग्निप्रसाद सापकोटाले विघटनपछि निवेदन घुँडामा राखेर अविश्वास प्रस्तावको निवेदन दर्ता गर्नुले संसदीय प्रणालीकै हुर्मत लिने खालको लज्जाबोध भएको उनले बताए । ‘एउटा स्पिकरले यस्तो झूटो काम गर्न हुँदैन,’ उनले भने ।
सभामुखले गरेको प्रमाणीकरणको विषयमा संसद् सचिवालयले वक्तव्य जारी गरेर निवेदन ३.३० मा दर्ता गरेको प्रस्ट पार्नुपरेको उनले बताए । सभामुखले संसदीय प्रणालीमा यस्तो जालझेल गर्न नहुने उनले बताए । ‘लोकतन्त्र जालझेल होइन, पारदर्शिता हो,’ उनले भने । जनतालाई विधि, पद्धति सुनाएर केही नहुने र उनीहरूलाई यसको वास्ता नभएको उनले बताए । पदलोलुप मान्छेका कारण प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले निर्वाचनमा जितेर देखाउन चुनौती दिए । उनले विघटनको विरोध गर्ने र राष्ट्रपतिको विरोध गर्नेहरू सामन्तवादी भएको आरोप लगाए । छिमेकीसँगको सम्बन्ध राम्रो भएको चर्चा गर्दै ओलीले आगामी १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने र लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर बनाएको नक्साका विषयमा कुराकानी हुने उनले बताए ।

ॅसंविधान च्यातेर निर्वाचन हुँदैन’
प्रधानमन्त्री ओलीको मन्तव्यप्रति जिज्ञासा राख्दै कांग्रेस सांसद जितेन्द्रनारायण देवले विघटन असंवैधानिक भएको बताए । जनता समाजवादी पार्टीकी
सांसद प्रमिला कुमारीले २००७, २०१७ र २०६१ मा जसरी नै अहिलेको संविधानमा तरबार झुन्ड्याइएको बताइन् । उनले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिन् ।
कांग्रेस सांसदहरू रमेशजंग रायमाझी, प्रकाश पन्त र अनिता देवकोटाले संविधानले नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेर विघटन गरेको बताए । उनीहरूले चुनाव त राजाले पनि गराएको भन्दै प्रधानमन्त्रीलाई ‘गेसपेपर’ नभएर संविधान पढ्न आग्रह गरे । निर्मला पन्तको हत्यारा खोइ भन्ने युवालाई धनगढीमा पक्राउ गरेको प्रसंग जोड्दै देवकोटाले भनिन्, ‘के अब मौलिक हकअन्तर्गतको धारा १७ पनि विघटन भएको हो ?’ सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ ओलीले दिए । उनले संक्षिप्त जवाफ दिँदै प्रतिपक्षको हैसियतले जिज्ञासा आएको बताए । उनले संविधानअनुसार नचल्ने राष्ट्रपति नखोजेको बताए । राष्ट्रपतिको दलीय स्वार्थका आधारमा हिलो
छ्याप्ने गरेको उनले बताए । उनले प्रतिनिधिसभावाला साथीहरूलाई तर्क–वितर्कमा लाग्नुभन्दा निर्वाचनमा जान आग्रह गरे ।

समाचार

दाहाल–नेपालले अपमानको प्रतिवाद गर्ने

अधिनायकवादी र निरंकुश चरित्र बन्द गर्न ओलीलाई चेतावनी
- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– नेकपा दाहाल–नेपाल पक्षले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशहरूलाई अपमान गरेको भन्दै त्यसको प्रतिवाद गर्ने भएको छ । आइतबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले चार पूर्वप्रधानन्यायाधीशहरूले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमान गर्नु र धम्काउनु आपत्तिजनक भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । ‘मुख्यतः चार पूर्वप्रधानन्यायाधीशहरूले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण जिम्मेवार नागरिकको हैसियतमा प्रतिनिधिसभा विघटनबारे संवैधानिक व्यवस्था के छ भनेर संयुक्त वक्तव्य दिनुभएको थियो । उहाँहरूलाई प्रधानमन्त्रीले अपमान गर्ने र धम्काउने काम गर्नुभएको छ । यो कार्य अत्यन्तै आपत्तिजनक छ । बैठकले यसको भर्त्सना गरेको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
नेकपा दाहाल–नेपाल पक्षले अधिनायकवादी र निरंकुश चरित्र बन्द गर्न प्रधानमन्त्री ओलीलाई पनि चेतावनी दिएको छ । ‘प्रधानमन्त्रीले केही समययता प्रदर्शन गरेको अधिनायकवादी र निरंकुश चरित्रलाई तत्काल रोक्न चेतावनी दिने निर्णय पनि बैठकले गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने । उनले अध्यक्ष दाहालको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको जानकारी दिए । पत्नी सीता दाहालको उपचारका लागि पुस २० मा मुम्बई गएका अध्यक्ष दाहाल २५ गते फर्किएका थिए । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन छिट्टै अन्त्य गरेकामा पनि दाहाल–नेपाल पक्षले विरोध जनाएको छ ।

ओलीको केन्द्रीय कमिटी १५ सय १ सदस्यीय
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाएका छन् । यसअघि गत पुस ७ गते बालुवाटारमा बसेको ओलीपक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । त्यतिखेरै ओलीले ५ सय ९६ जनालाई मनोनयन गरेर १ सय ९६ सिट रिक्त राखेका थिए । तर यही पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ । ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ मा दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १५०१ सदस्यीय भएको छ,’ ओलीले अन्तरपार्टी निर्देशनमा लेखेका छन्, ‘रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष कमरेडलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरेपश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको छ ।’
अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष दाहालले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले दिइएको कार्यकारी अधिकार फिर्ता लिइएको उल्लेख छ । अन्तरपार्टी निर्देशनमा लेखिएअनुसार ओलीपक्षीय नेकपाले पार्टी कमिटीमा ५० प्रतिशतसम्म थप्न मिल्ने गरी विधान संशोधन गरेको छ । ‘कमिटीका अध्यक्ष यस अभियानको पक्षधर नभएको ठाउँमा सचिव भए उहाँको अगुवाइमा, अन्यथा पार्टीका ज्येष्ठ या वरिष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी पार्टी कामलाई गतिशील बनाउने । एक तहमाथिको कमिटी वा संयोजक कमरेडको निर्देशनमा भावी नेतृत्वका बारेमा आवश्यक निर्णय लिने,’ ओलीले भनेका छन् ।

समाचार

राष्ट्रिय सभा अधिवेशन १० दिनमै अन्त्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय मुद्दामा छलफल भइरहेको राष्ट्रिय सभाको सातौं अधिवेशन १० दिनमै आइतबार अन्त्य गरिएको छ । अधिवेशन सुरु भएको दस दिनमा जम्मा चारवटा बैठक बसेपछि अधिवेशन अत्य गरिएको हो । विधेयकहरू छलफलका क्रममा रहेका र विषयगत समितिले पारित गरेर सभामा पेस गर्ने तयारी अवस्थामा भए पनि त्यसलाई बेवास्ता गरेर बैठक अन्त्य गरिएको छ । चार दिन चलेको बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा बोल्दै आएका थिए । प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभालाई जनताको आवाज उठाउने स्थायी थलोका रूपमा अझ बढी महत्त्वका साथ हेरिएको भए पनि सरकारले बैठक लम्ब्याउन किन चाहेन भन्ने प्रश्न उब्जिएको छ । अचानक बैठक अन्त्य गरिनुमा सत्तारूढ नेकपाकै नेताहरूले अनभिज्ञता प्रकट गरेका छन् ।
राष्ट्रिय सभामा सांसदहरूले प्रतिनिधिसभा विघटन गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए । विघटनविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका सांसदले ओलीको चर्को आलोचना गरेका थिए । राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले आइतबार सम्बोधन गरेपछि बैठक अन्त्य गरिएको हो । प्रधानमन्त्रीले सम्बोधन गर्ने थाहा भएपछि दाहाल–नेपाल समूहका सांसदले बैठक छाडेका थिए । संविधान मिच्ने प्रधानमन्त्रीले मन्तव्य राख्दा बैठकमा नबस्ने भन्दै उनीहरू बाहिरिएका हुन् । दाहाल–नेपाल समूहका सांसद वेदुराम भुसालले ओलीले संविधान मिचेर लोकतन्त्रलाई खतरामा पारेकाले आफूहरूले बैठक छाडेको बताए । ‘प्रधानमन्त्री ओली बैठकमा आएपछि हामी २३ जना सांसद बाहिर निस्कियौं,’ उनले भने ।
दाहाल–नेपाल समूहका नारायणकाजी श्रेष्ठसहितका सांसद ओलीले सम्बोधन गर्दा बैठकमा बसेनन् । स्रोतका अनुसार सबै प्रतिपक्षले बहिष्कार गर्ने कि भन्ने छलफलसमेत भएको थियो । कांग्रेसका एक सांसदले भने, ‘कुराकानी भएको हो तर सरकारले बहिष्कारलाई आधार बनाएर राष्ट्रिय सभा बन्द गर्ने निहुँ पाउने भन्दै सहमत भएनन् ।’ तैपनि अधिवेशन अन्त्य गरिएकामा उनले दुखेसो गरे । बैठक अन्त्य गरेकामा नेकपा राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्मा नै सन्तुष्ट छैनन् । उनले प्रतिनिधिसभा नभएको अवस्थामा समसामयिक विषयमा छलफल गर्ने उपयुक्त थलो बन्द गरिएको बताए । उनले भने, ‘बैठकमा सरकारको विरोध मात्र भएको थिएन, जनताका समस्या पनि उठाइएको थियो ।’ सरकारले जनताको आवाजलाई बेवास्ता गर्न खोजेको हो कि भन्ने सन्देश गएको उनको बुझाइ छ । बैठक यति छिट्टै अन्त्य हुँदै छ भन्ने प्रतिपक्षी दललाई त थाहै थिएन ।
कांग्रेस सांसद रमेशजंग रायमाझीले बैठकको कार्यसूची प्राप्त भएपछि मात्र आफूहरूले जानकारी पाएको बताए । उनले सरकारले प्रतिनिधिसभा विघटनको विषयमा आफ्नो विरोध हुने देखेर बैठक अन्त्य गरेको अनुमान गरे । धेरै विषयमा छलफल गर्न सकिने भए पनि बैठक अन्त्य गर्नु गलत भएको उनले बताए ।
हरेक बैठक आफ्नो विरोध गर्ने थलो बनेको र सभामा प्रक्रियामा रहेका विधेयकहरू फिर्ता लिने एवं अध्यादेश ल्याउने सरकारी योजनामा बाधक बन्न सक्ने ठानेर बैठक अन्त्य गरिएको स्रोतको दाबी छ । संसद् चलिरहँदा एकातिर अध्यादेश ल्याउन पाइँदैन, अर्कातर्फ राष्ट्रिय सभामा प्रक्रियामा रहेका विधेयक फिर्ता लिने क्रममा सरकार अल्पमतमा पर्छ कि भन्ने भय देखिएको सत्तापक्षका सांसद बताउँछन् । नेकपाका सांसदहरू करिब ५०–५० प्रतिशतमा विभाजित भएकाले कुनै विषय बहुमत र अल्पमतका आधारमा निर्णय गर्नुपर्दा सरकारलाई अप्ठेरो पर्न सक्ने देखिएपछि बैठक अन्त्य गरिएको हो स्रोतको दाबी छ । प्रक्रियामा गएका विधेयकहरू सभाले फिर्ता लिने अनुमति दिएपछि मात्र त्यसको विषयमा अध्यादेश ल्याउन सकिन्छ तर सत्तापक्षकै सांसदहरू विभाजित भएको अवस्थामा सरकारले फिर्ता लिन चाहे पनि बहुमत नपुग्ने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले बताए । विधायन समितिबाट पारित रेलवे विधेयक फिर्ता लिन शुक्रबार नेकपा नेता सुवासचन्द्र नेम्वाङ र नेता शर्माबीच कुराकानी भएको थियो तर नेकपा दाहाल–नेपाल समूहले सहयोग नगर्ने शंकाका कारण उक्त विधेयक फिर्ताको प्रस्ताव ल्याइएन । सचिवालयका एक अधिकारीले भने, ‘प्रयास भएको सुनेको हो तर प्रस्ताव आएन ।’ राष्ट्रिय सभाले अहिले प्रक्रियामा लैजान सक्ने विधेयक १८ वटा छन् । तीमध्ये पाँचवटा विधेयक दर्ता मात्र भएको छ ।

समाचार

'प्रतिनिधिसभा विघटन प्रतिगमनको अंश’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नागरिक समाजका अगुवाहरूले विघटन अलोकतान्त्रिक र निन्दनीय कदम भएको भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेका छन् । देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक किचलो सम्बोधन गर्न स्वेच्छाचारी तबरले गरिएको प्रतिनिधिसभा विघटन प्रतिगमनकै अंशका रूपमा देखिएको उनीहरूले ठहर गरेका छन् ।
२०६२/६३ को जनआन्दोलनका उपलब्धिमाथि जिम्मेवारहरूबाट नै निरन्तर आक्रमण भइरहेको उल्लेख गरेका उनीहरूले दलहरूलाई गल्तीप्रति क्षमा माग्दै सुध्रिन आह्वान गरेका छन् । ‘त्यही जनआन्दोलनको बलमा राजतन्त्र पहिले निलम्बन र
पछि उन्मूलन भएको हो । त्यही जनआन्दोलनको जनादेशअनुरूप संविधानसभाको निर्वाचन भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो,’ विज्ञप्तिमा भनिएको छ ।
तीनै तहको निर्वाचनपछि सर्वत्र सुशासनको अपेक्षा गरिए पनि राजनीतिक नेतृत्व उक्त अपेक्षामा खरो उत्रन नसक्नुका साथै भ्रष्टाचारका ठूला घटनाको ढाकछोप र दण्डहीनताका कारण नागरिकमा आक्रोश बढेको उनीहरूको ठहर छ । ‘राजनीतिलाई विकासमुखी, राज्य संयन्त्रलाई जनउत्तरदायी, सेवामुखी र समग्र समाजलाई उद्यममुखी बनाउन नसक्नु सरकार र दलहरूको अक्षम्य कमजोरी हुन गयो,’ उनीहरूले भनेका छन्, ‘जननिर्वाचित प्रतिनिधिसभाको असंवैधानिक विघटनले परिवर्तनविरोधीहरू जागृत भएको र मोर्चाबन्दीतर्फ अग्रसर भएको देखिँदै छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदम प्रतिगमनका लागि औजार हुन पुगेको र आफूलाई लोकतान्त्रिक मूल्यमान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदाबहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ । नागरिकमा बढ्दो वितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरूले विगतका गल्तीप्रति क्षमा माग्नुपर्छ भनिएको छ । त्यस्ता गल्ती फेरि नहुने प्रतिबद्धतासहित सुशासनको प्रत्याभूति गर्दै सबल लोकतान्त्रिक प्रणालीको विकास गर्न प्रतिनिधिसभाभित्र र बाहिरका राजनीतिक शक्तिहरू एकजुट हुन आह्वान गरिएको छ ।

Page 4
समाचार

दम्पतीको मृत्यु १० घण्टा फरकमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्रिनभिला हाउजिङमा मृत अवस्थामा फेला परेका एक दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । उमेश केसी र उनी पत्नी सुदीक्षा गिरीको शव शुक्रबार राति अपार्टमेन्टमा भेटिएको थियो । उमेशको शव ओछ्यान र सुदीक्षाको घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शुक्रबार राति नै दुवै शव त्रिवि शिक्षण अस्पताल पुर्‍याएर प्रहरी अनुसन्धानमा जुटेको छ ।
घटनाको मुचुल्का तयार पार्न खटिएका एक प्रहरीका अनुसार उमेशको शव अर्धनग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो । उनको देब्रेतर्फको टाउकोमा चोटपटक लागेको थियो । नजिकै मसला पिस्ने सिलौटो रगतले लतपतिएको अवस्थामा भेटिएको छ । सुदीक्षाको शव सलले पासो लगाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो । त्रिवि शिक्षण अस्पतालमा दुवै शवको आइतबार पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको विस्तृत रिपोर्ट आउन अझै एक साता लाग्ने जानकारी चिकित्सकले प्रहरीलाई दिएका छन् । चिकित्सकले पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उमेशको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’बाट भएको उल्लेख गरेका छन् । उमेशको मृत्यु भएको करिब १०/१२ घण्टापछि सुदीक्षाको मृत्यु भएको जानकारी चिकित्सकले प्रहरीलाई गराएका छन् । घटनास्थलबाट बरामद गरिएका उमेश र सुदीक्षाका मोबाइल फोन लक गरिएकाले प्रहरीले खोल्न सकेको थिएन । दुवै मोबाइल लक खोलेर प्रमाण जुटाउन विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले हत्यापछि सुदीक्षाले आत्महत्या गरेको प्रारम्भिक अनुमान भए पनि मोबाइलबाट प्राप्त हुने तथ्य र पोस्टमार्टम रिपोर्टपछि मात्रै सबै कुरा खुल्ने बताए । घटनास्थलमा मृतक सुदीक्षाकी दिदी शर्मिला भान्सातर्फको ढोकाबाट प्रवेश गरेको भनिएको विषयमा प्रहरी बढी केन्द्रित भएर अनुसन्धानमा जुटेको छ । शर्मिलाले आफू बिहीबार बिहान ११ बजेतिर बहिनीको कोठामा पुग्दा ढोका लगाएको र भान्सातर्फको ढोका ठेलेर भित्र पस्दा दुवैलाई मृत अवस्थामा फेला पारेको अनि आत्तिएर आफू बाहिर निस्किएको बयान दिएकी छन् । तर उनले किन त्यो घटना देखेर पनि करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरिन् भन्ने पनि शंकाको घेरामा छ । आफू आत्तिएर घटनाबारे जानकारी गराउन नसकेको जिकिर उनको छ । तर प्रहरीले यसलाई सहज रूपमा लिएको छैन । उनलाई कागज
गराएर बोलाएका बेला उपस्थित हुने सर्तमा छोडिएको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यस घटनाका पछाडि चारवटा कारण हुन सक्ने बताउँछन् । ‘घरायसी विवाद, कुराकानीका क्रममा निम्तिने आवेग, सुदीक्षा अमेरिका जान नपाएको र त्यसले निम्त्याउने कटुता, विवाह भएर पनि सन्तान हुन नसकेको र अन्तिममा तेस्रो पक्षको प्रवेश र यसमा उमेश–सुदीक्षालाई सिध्याएर अर्को पक्षले लिएको हुन सक्ने आर्थिक लाभ, यी कारणले घटना घटेको हुन सक्छ,’ उनले कान्तिपुरसँग भने, ‘अनुसन्धानका सबै दायरालाई खुला राखेर तथ्य र प्रमाणमा प्रहरी केन्द्रित हुनुपर्छ ।’ अध्ययनका क्रममा २०७२ वैशाखमा अमेरिका पुगेका उमेश गएको कात्तिक ७ गते नेपाल आएका थिए । उनी माघ १ मा अमेरिका जाने तयारीमा थिए ।

समाचार

बृहत् पूर्ण इजलासबारे छलफल भएको थिएन : सर्वोच्च

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सर्वोच्च अदालतले गत बिहीबारको पूर्ण बैठकमा पूर्वन्यायाधीश बलिराम कुमारको शोकप्रस्ताव एवं समवेदना बाहेकका कुनै पनि विषयमा छलफल नभएको दाबी गरेको छ । कान्तिपुर दैनिकलगायत सञ्चारमाध्यममा उक्त बैठकमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरू बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग उठाएको समाचार प्रकाशन भएको थियो ।
‘आकस्मिक पूर्ण बैठकमा प्रतिनिधिसभा विघटनउपर परेका रिट निवेदनहरूको सुनुवाइको सम्बन्धमा माननीय न्यायाधीशज्यूहरूबाट विभिन्न धारणा व्यक्त भएको भनी प्रकाशित समाचारहरूप्रति सर्वोच्च अदालतको ध्यानाकर्षण भएको छ,’ अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शोकप्रस्ताव पारित गर्नेबाहेक अन्य कुनै विषयमा छलफल नभएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’

Page 5
समाचार

देउवा–पौडेल जुहारी

देउवा निर्वाचनको पक्षमा उभिएपछि पौडेलले संविधानलाई रछ्यानमा फाल्ने गरी घोषणा भएको निर्वाचन स्विकार्न नसकिने बताए
- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आइतबार सार्वजनिक कार्यक्रममै जुहारी चलेको छ ।
देउवा निर्वाचनको पक्षमा उभिएपछि वरिष्ठ नेता पौडेलले संविधानलाई
रछ्यानमा फाल्ने गरी घोषणा भएको निर्वाचन स्विकार्न नसकिने बताएका थिए । ‘सबैभन्दा ठूलो त जनताको अदालत हो नि, कांग्रेस कानुन र अदालतको सम्मान गर्ने पार्टी हो । हामी किन भाग्ने ?’ प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको पार्टीका संस्थापक नेता सूर्यप्रसाद उपाध्यायको जीवनीमा आधारित विशेषांक विमोचन कार्यक्रममा आइतबार देउवाले
भनेका थिए ।
२०३७ सालमा पञ्चायतले बालिग मताधिकार भनेर घोषणा गरेको चुनाव बीपी कोइरालाले बहिष्कार गर्ने निर्णय लिएको स्मरण गराउँदै पौडेलले मुलुकलाई सही दिशामा लैजानका लागि कांग्रेस नेतृत्वले आँट्ने कि नआँट्ने भन्दै
प्रश्न गरे ।
पौडेलले भने चुनावमा जानुको अर्थै नरहेको बताए । ‘७० वर्षपछि प्राप्त भएको संविधान, गणतन्त्रजस्ता उपलब्धि छाडेर चुनावमा जानुको कुनै अर्थ छैन, अहिले चुनावभन्दा पनि संविधान र गणतन्त्र ठूलो कुरा हो । त्यसपछि मात्रै चुनाव प्राथमिकता हो । अभिव्यक्ति स्वतन्त्रतामा समेत धावा बोलिएको छ । प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशलाई धम्क्याउँदै छन् । अदालतलाई धम्क्याउँदै छन् । योभन्दा फासिस्ट के हुन सक्छ ?’ उनले भने, ‘आज मुलुकको भविष्य भुमरीमा परेको छ । भुमरीबाट मुलुकलाई बचाउने आँट कांग्रेस नेतृत्वले गर्ने कि नगर्ने ? त्यो आँट गर्नुपर्छ ।’
देउवाले शनिबार पार्टीले आयोजना गरेको विरोधसभामा पनि निर्वाचनको पक्षमा धारणा राखेका थिए । प्रधानमन्त्रीको पार्टी निर्वाचनको मैदानमा गइसकेको भन्दै उनले कांग्रेस कार्यकर्तालाई घरमा नबसी निर्वाचनको मैदानमा उत्रन आग्रह गरेका थिए । अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भन्दै आएका देउवा आफैं निर्वाचनको पक्षमा उत्रिएपछि पौडेलले प्रतिवाद गर्दै अदालतलाई प्रतिनिधिसभा विघटन सदर गर्ने ठाउँ नभएको बताएका छन् ।
संविधान निर्माणका बखतमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र त्यतिबेला एमाले अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री दुवै प्रणालीले अस्थिरता निम्तने भन्दै सुधारसहितको संसदीय व्यवस्था अपनाएको पौडेलले स्मरण गरे । बारम्बारका सरकार परिवर्तनको अस्थिरतालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिने र प्रधानमन्त्रीमाथि पनि दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने गरी संविधान बनाइएको स्मरण गर्न पौडेलले देउवालाई आग्रह गरे । ‘हामी हो संविधान बनाउने, हामी जिउँदै छौं,’ पौडेलले त्यसो भन्दा देउवाले ‘म पनि जिउँदै छु, आफू मात्रै जिउँदै छौ’ भन्दै बीचमै प्रतिवाद गरेका थिए ।
त्यसपछि पौडेलले ‘तपाईं–हामी सबै जिउँदै छौं’ भन्दै संविधानलाई रछ्यानमा फाल्ने कुरा सहेर बस्न नसकिने बताए । ‘७० वर्षदेखि लडेर ल्याएको संविधान हो, यो संविधानलाई नबचाई चुनावको कुनै अर्थ छैन,’ चुनावको पक्षमा अभिव्यक्ति दिँदै आएका आफ्नै पार्टीका सभापतिप्रति लक्षित गर्दै पौडेलले थपे, ‘कुनै किसिमको मुलाहिजा नराखी कांग्रेसले सही दिशा किन नदिने ? त्यो आँट पो गर्ने हो ।’
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक हो भनेरै पार्टीले आन्दोलन गरेको भन्दै देउवाले अदालतले चुनावमा जाने निर्णय लिएमा किन मैदानबाट भाग्ने भन्दै पौडेललाई जवाफ दिएका थिए ।

समाचार

हटेन शैक्षिक सत्रको अन्योल

अर्को वर्षको बिदा कटाएर चालु शैक्षिक सत्र पूरा हुन सक्ने निचोडसहित मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिए पनि अझै निर्णय भएन
- गणेश राई

(काठमाडौं) - यस वर्षको शैक्षिक सत्र पूरा हुन्छ/हुन्न भन्नेबारे विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिमात्र होइन स्वयं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमेत अन्योलमा छ । किनभने मन्त्रालयले आगामी जेठसम्म शैक्षिक सत्र लम्बाएर परीक्षा लिने कार्ययोजना मन्त्रिपरिषद्मा पेस गरेको तीन साता बितिसकेको छ । तर मन्त्रिपरिषद्ले उक्त प्रस्तावलाई प्राथमिकतामा राखेको छैन ।
शिक्षा ऐन तथा नियमावलीअनुसार वैशाखमा सुरु भएको शैक्षिक सत्र सकिन अब ३ महिनामात्र बाँकी छ । कोरोना भाइरसले गर्दा औपचारिक रूपमा देशभरिका विद्यालय एक साथ खुलेका छैनन् । ग्रामीण भेग र सहरी क्षेत्रका विद्यालय आंशिक रूपमा मात्र सञ्चालनमा छन् । काठमाडौं महानगरपालिकाले अब माघबाट विद्यालय खुल्न दिने भनेको छ । सुगमदेखि दुर्गमसम्मका अधिकांश विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको दाबी गरेका छन् । मन्त्रालयले अर्को शैक्षिक सत्रको दुई महिना चालु सत्रमा गाभ्ने प्रस्ताव स्वीकृतिका निम्ति ऐन संशोधन हुनुपर्छ । त्यसैले मन्त्रालय एक्लैले विद्यमान ऐन तथा नियमावली संशोधन गरेर लागू गर्न मिल्दैन । ‘यो वर्षको सत्र चैतमा नभई जेठसम्म लम्बाउन सके विद्यार्थी अबको चार महिना पढ्न पाउँछन्,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने, ‘त्यसैले अर्को वर्षको बिदा कटाएर चालु शैक्षिक सत्र पूरा हुन सक्ने निचोडसहित मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको छ । निर्णय आएको छैन ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार शिक्षा मन्त्रालयको प्रस्ताव छलफलकै क्रममा छ । ‘शैक्षिक सत्र गाभ्ने, माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनलगायत विषयमा मन्त्रालयको प्रस्ताव आएको छ,’ बरालले भने, ‘सामाजिक समितिमा छलफल भएपछि मात्र मन्त्रिपरिषद्ले निर्णय गर्ने भएकाले अझै समय लाग्छ ।’
पुस ५ गतेअघि निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त प्रस्ताव अघि बढाएका थिए । राजनीतिक घटनाक्रमका कारण पोखरेलले पदबाट राजीनामा दिएपछि कृष्णगोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मन्त्री श्रेष्ठ शिक्षाका समसामयिक स्थितिबारे बुझ्नेभन्दा राजनीतिक रडाकोमै रुम्मलिएका छन् । ‘मन्त्रीज्यू अझै केही दिन आन्तरिक कार्यमै व्यस्त हुनुहुन्छ,’ मन्त्रीनिकट स्रोतले भन्यो, ‘शैक्षिक सत्र मर्ज, एसईई, पाठ्यक्रमजस्ता यावत् विषयमा केही दिन लाग्नेछ । त्यसपछि मन्त्रालयले यी विषय
सार्वजनिक गर्नेछ ।’
मन्त्रालयले जारी गरेको वैकल्पिक कक्षा सञ्चालनमा छ । जसमा रेडियो, टेलिभिजन, अनलाइन, भर्चुअल कक्षा रहेका छन् । तर, ग्रामीण तथा दुर्गमका रहेका, प्रविधिमा पहुँच नरहेका अधिकांश विद्यार्थी छुटेका छन् । हिमाली भेगका ६ जिल्लामा फागुनबाट शैक्षिक सत्र सुरु भई माघमा सकिन्छ । बाँकी जिल्लामा वैशाखमा सत्र सुरु भई चैतमा सकिन्छ । चैतमा कक्षा १० को एसईई हुने परम्परा छ । तर, कसरी सञ्चालन गर्ने भन्नेबारे मन्त्रालयले निर्णय गर्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै यो वर्ष कक्षा १० मा पढ्दै गरेका विद्यार्थीको संख्या यकिन गर्न फाराम भर्न/भराउन सूचना जारी गरेको छ । मन्त्रिपरिषद्को निर्णयपछि मात्र यो पटक एसईई प्रक्रिया अघि बढ्ने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाएका छन् ।
पाठ्यक्रम विकास केन्द्रले कोभिड–१९ ले गर्दा कक्षा १० सम्मको पाठ्यवस्तु समायोजन ढाँचा तथा मूल्यांकन सार्वजनिक गरेको छ । पाठ्यक्रम तथा पाठ्यपुस्तकमा भएका विषय सूची तथा सामग्रीलाई थोरै समयभित्र विद्यार्थीलाई पढाएर बुझाउनका निम्ति ढाँचा निर्माण गरिएको हो । तर शिक्षक र विद्यार्थीले समायोजन गरिएका मात्र पढाउने भनेर बुझेका छन् । केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार पाठ्यक्रममा भएका विषय घटाइएको होइन ।
‘पाठ्यक्रमानुसार पाठ्यपुस्तकमा समेटिएका सबै पढ्ने, पढाउने नै हो र परीक्षा मूल्यांकन सबैबाट हुन्छ,’ उनले भने, ‘थोरै समयमा सबै पाठ व्याख्या गरेर पढाउन सम्भव नभएकाले कक्षाको पाठ्यभार मात्र घटाइएको हो । विद्यार्थी आफैंले पढ्ने, नबुझेको विषयमा शिक्षकसँग सोधबुझ गर्ने र शिक्षकले बुझाउने
भनिएको हो ।’

समाचार

म्यानपावर कम्पनीमा अग्रिम शुल्क नबुझाउनू : विभाग

शून्य लागत र १० हजार सेवा शुल्कको नीतिलाई म्यानपावर कम्पनीले ९९ प्रतिशत कार्यान्वयन गरेनन्
- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई अग्रिम रूपमा रकम नबुझाउन वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ । कोरोना महामारीपछि केही म्यानपावर कम्पनीले सीमित माग आएको भन्दै रोजगारीमा जान इच्छुकसँग अनुचित रकम उठाउन थालेपछि विभागले बैंकमा मात्रै रकम जम्मा गर्न सूचना जारी गरेको हो । अन्तर्वार्तामा छनोट भइसकेपछि मात्रै म्यानपावरको नाममा रहेको खातामा सेवा शुल्क जम्मा गर्नसमेत विभागले भनेको छ ।
छनोटपछि सम्बन्धित इजाजतवाला संस्थालाई सक्कल राहदानीलगायत आवश्यक कागजातका सक्कल प्रति बुझाउन पनि विभागले अनुरोध गरेको छ । ‘म्यानपावर कम्पनीले पनि आवेदकबाट प्रतिलिपि वा स्क्यान कपी मात्र माग गरी छनोट भएका कामदारबाहेक अरूको सक्कल राहदानी जम्मा गर्ने कार्य नगर्नू,’ सूचनामा भनिएको छ, ‘छनोट भएका व्यक्तिहरूलाई आफू जान लागेको कामका लागि तिर्नुपर्ने रकम सम्बन्धित म्यानपावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न र त्यसको भौचर सुरक्षित राख्नुपर्छ ।’
म्यानपावर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा मागपत्र खरिद गर्नुपर्ने भएकाले श्रमिकमाथि आर्थिक भार पर्ने गरेको छ । कोभिडपछि यो भार झन् बढेको छ । न्यून तलबमा खाडी तथा मलेसिया जाने नेपाली श्रमिकहरूको काँधमा वार्षिक १० अर्बभन्दा बढी भार पर्दै आइरहेको छ । खाडी तथा मलेसियामा नयाँ श्रमस्वीकृति लिई वार्षिक दुई लाख जना गइरहेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसिया जाने श्रमिक शून्य लागतमा जान पाउने द्विपक्षीय श्रम सम्झौता छ भने साउदी अरब, कतार, कुवेत, बहराइन र ओमान जाने श्रमिकबाट १० हजार रुपैयाँ मात्रै सेवा शुल्क लिन पाइने नीति छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले पहिले पैसा उठाउने र पछि काम गर्ने प्रवृत्ति बढेको बताए । ‘डेढ लाखदेखि १२ लाखसम्म लिई १० हजार रुपैयाँको रसिद दिने अवस्था झन् फस्टायो,’ उनले भने, ‘व्यक्तिगत ठगी पनि बढ्दै छ । केही ठगी संस्थागत रूपमा नै स्थापित हुन थाले ।’ उनले शून्य लागत र १० हजार सेवा शुल्कको नीतिलाई म्यानपावर कम्पनीले ९९ प्रतिशत कार्यान्वयन नगरेको बताए । ‘म्यानपावर र सरकारको दुवैको साथ भयो भने यो नीतिलाई ६ महिनाभित्रै कार्यान्वयन गरेर देखाउन सकिन्छ,’ उनले भने ।
श्रमिकहरू भने श्रम स्वीकृति जारी भएपछि विदेश जान नपाउने डर वा बाध्यतामा परेर म्यानपावर कम्पनीले भनेबमोजिम रकम बुझाइरहेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (नाफिया) ले शून्य लागत र १० हजार रुपैयाँको सेवा शुल्कको नीतिलाई परिवर्तन गर्न सरकारलाई दबाब दिँदै आएको छ । ‘हाम्रो ठूलो रकम बैंक धरौटी छ । सामाजिक सेवा मात्रै गर्न बसेका होइनौं, हामीले पनि ब्याज तिर्नुपर्छ,’ नाफियाका महासचिव सुजितकुमार श्रेष्ठले भने, ‘एक जना श्रमिकको मागपत्र ल्याउन २६ हजार रुपैयाँ खर्च हुन्छ । जबसम्म एक महिनाको तलब बराबर र श्रमिक आफैं टिकट काटेर जाने अवस्था हुँदैन तबसम्म न्यायोचित भर्ना सम्भव छैन ।’

समाचार

पुसमै गर्मी !

केही दिन मौसम सफा रहने भएकाले दिउँसोको समयमा अधिकतम तापक्रम बढ्ने
- अब्दुल्लाह मियाँ

(काठमाडौ‌ं) - अघिल्लो सातासम्म दिउँसो पनि चिसो हुन्थ्यो । शनिबारयता भने सर्वसाधारणले तातो महसुस गर्न थालेका छन् । आइतबार दिउँसोसमेत राजधानीमा धेरैले गर्मी महसुस गरे । आइतबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भयो । शनिबारको तापक्रम २२.४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ह्वात्तै बढेपछि यस्तो अनुभव भएको हो ।
‘डिसेम्बर २२ पछि दिन लामा हुन थाल्छन्,’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले भने, ‘सँगै सौर्य विकिरण भइरहेको छ, अर्थात् सूर्यको प्रकाशमा तापको मात्रा पनि बढ्दै जाँदा गर्मी अनुभव भएको हो ।’ दिन लम्बिँदै जाने र सूर्यले दिने प्रकाश पनि बढ्ने भएपछि स्वतः तापमान बढ्ने उनको विश्लेषण छ । ‘दिन जति लामा हुँदै जान्छन्, त्यसैगरी दिन ताता हुँदै जान्छन्,’ उनले भने, ‘प्रदूषण बढ्यो भने मात्र अधिकतम तापक्रम घट्दै जान्छ, तर न्यूनतम तापक्रम बढ्छ । त्यस्तो बेलामा पनि तातो
महसुस हुन्छ ।’
गत साता राजधानीसहित देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यतिबेला अधिकतम तापक्रममा गिरावट आए पनि न्यूनतम तापक्रम बढेको थियो । त्यसैले सर्वसाधारणले प्रदूषण बढेको समयमा पनि चिसो महसुस गर्न पाएनन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार केही दिनयता राजधानीमा आर्द्रता (ह्युमिडिटी) बढिरहेको छ । ‘ह्युमिडिटी बढ्नेबित्तिकै मान्छेको शरीरले तातो महसुस गर्छ,’ उनले भने, ‘त्यो प्राकृतिक प्रक्रिया हो, अहिले भएको त्यही हो ।’
अबका केही दिन मौसम सफा रहने भएकाले दिउँसोको समयमा अधिकतम तापक्रम बढ्ने महाशाखाले प्रक्षेपण गरेको छ । मंगलबारसम्म देशका धेरैजसो भागको मौसम सफा रहने महाशाखाको आकलन छ । गत वर्षहरूमा डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा हुने भए पनि यो वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन । १२ महिनामध्ये हिउँदका तीन (मंसिर, पुस र माघ) महिनामा जम्मा ३.५ प्रतिशत वर्षा हुन्छ । ‘यो वर्ष माघ सुरु हुन लाग्दा पनि हिउँदे वर्षा भएको छैन,’ वरिष्ठ मौसमविद् बरुण पौडेलले भने, ‘वर्षा नभए पनि दिनहरू ताता हुँदै गएका छन् ।’

Page 6
सम्पादकीय

खोप ल्याउन किन अलमल ?

- कान्तिपुर संवाददाता


विश्वका कैयौं मुलुकले कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् । छिमेकी भारतले पनि यसै साताको अन्त्यबाट खोप अभियान सुरु गर्ने निर्णय गरिसकेको छ । छ महिनाभित्र ३० करोडलाई खोप लगाउने घोषणा गरिसकेको भारतले पहिलो चरणमा यसलाई देशैभरि निःशुल्क गर्न लागेको छ । केही दिनअघि मात्र आफ्नो देशमा उत्पादन भइरहेको कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपत्कालीन अनुमति दिने निर्णय गरेको भारत सरकारले खोप अभियान सञ्चालनका खातिर करिब सवा ६ लाख व्यक्तिलाई तालिम नै दिएको छ । अभियानको तयारीका लागि तीन चरणमा पूर्वाभ्यास गरिसकेको छ । अर्को छिमेकी चीनले पनि आफ्नो मुलुकमा बनेको सिनोफार्म खोपलाई अनुमति दिइसकेको छ । एक महिनापछि आउने वसन्त चाडअगावै ५ करोड नागरिकलाई खोप लगाइसक्ने उसको योजना छ । छिमेकी मुलुकका यी गतिविधि हाम्रा लागि केवल समाचार होइनन्, नेपालमा समेत यथाशीघ्र यस्तो अभियान थाल्न प्रेरित गर्नुपर्ने ऊर्जा पनि हुन् । तैपनि विश्वभर र छिमेकी मुलुकका यस्ता शुभ समाचार सुनिरहँदासमेत हाम्रोतर्फबाट भने खोप ल्याउनकै लागि पनि ठोस निर्णय गरिएको छैन, न त यसका निम्ति निजी क्षेत्रलाई नै आवश्यक प्रोत्साहन गरेको देखिन्छ ।
हाम्रा छिमेकीहरू भारत र चीनमा उत्पादन भएका खोप नेपालमा छिटो ल्याउन सकिने सुझाव विज्ञहरूको छ । अन्तर्राष्ट्रिय मान्यतालगायत धेरै हिसाबले भारतमा बनेका खोप ल्याउन र प्रयोग गर्न सहज हुने कतिपयको मत छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यसै साता नयाँदिल्लीमा हुने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय विशेष संयन्त्रको बैठकमा सहभागी हुँदै छन् । सरकारले उक्त बैठकका एजेन्डाबारे बताइसकेको छैन । कामचलाउ सरकारका मन्त्री भएकाले उक्त बैठकमा दुई मुलुकबीच दीर्घकालका लागि प्रभाव पार्ने के–कस्ता विषयमा छलफल हुन सक्छ, त्यसबारे हुनुपर्ने बहस आफ्नै ठाउँमा छ । तर, नेपालका लागि तत्काल आवश्यक परेको कोभिड खोप ल्याउनका लागि मन्त्री ज्ञवालीको उक्त भ्रमणलाई फलदायी बनाउन सकिन्छ, बनाउनु पनि पर्छ । त्यसैले अबका दिनमा त्यस दिशामा आवश्यक गृहकार्य गर्नुपर्छ र भ्रमण दलमा सम्बन्धित सरोकारवाला अधिकारीहरूलाई पनि सहभागी गरिनुपर्छ । तुलनात्मक हिसाबले निकै थोरै जनसंख्या भएको छिमेकी मुलुक नेपालका लागि परल मूल्यमै खोप उपलब्ध गराउन भारतलाई सम्भवतः कुनै कठिनाइ हुनेछैन, खालि त्यसका लागि नेपालले प्रभावकारी खोप–कूटनीति अपनाउन आवश्यक छ ।
सरकार ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनअन्तर्गतको कोभाक्स सुविधाबाट सहुलियत दरमा आउने भनिएको खोपमा मात्रै भर पर्नु हुँदैन । सहुलियतको खोपभन्दा पहिले नै विश्वबजारमा उपलब्ध हुने अवस्था हुँदाहुँदै सरकार त्यसै हात बाँधेर बस्न मिल्दैन । यसै पनि सहुलियतमा उपलब्ध हुने खोप कुल जनसंख्याको २० प्रतिशतका लागि मात्रै हो, त्यो पनि आइपुग्न कम्तीमा चैत–वैशाख लाग्ने देखिन्छ । र, सुरुमा करिब ३ प्रतिशत जनसंख्यालाई मात्र पुग्ने गरी आउनेछ । बाँकी १७ प्रतिशतका लागि सन् २०२१ को अन्त्यसम्म
कुर्नुपर्ने हुन सक्छ । तसर्थ, यो खोपमा मात्रै भर पर्नु कुनै पनि हिसाबले बुद्धिमानी हुँदैन ।
कतिपय मुलुकले क्लिनिकल परीक्षण सम्पन्न हुनुअघि नै उत्पादक कम्पनीलाई बैना दिइसकेका थिए । अहिले त कति खोपले सफलतापूर्वक परीक्षण चरण सकाएर कैयौं मुलुकबाट प्रयोगको अनुमति पाइसकेका छन् । यो बेला पनि नेपाल आफूलाई चाहिने खोप माग गर्नका लागि अलमलिरहनुपर्ने कारण छैन । सरकारले प्रत्यक्ष रूपमा अक्सफोर्ड– अस्ट्राजेनिकाको खोप कोभिसिल्डको नाममा बनाएको सिरम इन्स्टिच्युट अफ इन्डियासँग नै गम्भीर कुराकानी अघि बढाउन पनि सक्छ । यो खोप नेपालको राष्ट्रिय खोप कार्यक्रमको कोल्ड चेनअनुकूल पनि छ । अहिलेसम्म पाँच करोड डोज खोप उत्पादन गरिसकेको सिरमले आगामी मार्चदेखि हरेक महिना १० करोड डोज उत्पादन गर्ने जनाइएको छ ।
निजी क्षेत्रले समेत मुलुकमा खोप ल्याउन चासो देखाए पनि सरकारले यसबारे कुनै निर्णय गरिसकेको छैन । निजी क्षेत्रले खोप ल्याउँदा सरकारी अभियानलाई नै टेवा पुग्ने भएकाले यस्तो ढोका खुला गर्न आनाकानी गर्नुपर्ने कारण देखिँदैन । खालि, अवाञ्छित नाफा असुल्न नपाऊन् भनेर सरकारले मूल्यमा सीमा तोक्नुपर्ने हुन सक्छ । जसरी हुन्छ, विश्वका सबै देशलाई एउटै खोप चाहिएको यो बेला नेपालले यसको ‘अर्डर’ गर्न अनावश्यक ढिलाइ गर्नु हुँदैन । भविष्यमा अझ सहज विकल्प उपलब्ध भए, त्यसैअनुसार निर्णय गर्न सकिन्छ, तर अहिले उपलब्ध विकल्पहरूका बीचबाट नेपाललाई सुहाउने उत्कृष्टको छनोट बेलैमा गर्नुपर्छ । समयमै खोप लगाउन सके मात्रै भविष्यमा आउने सक्ने कोरोनाको थप लहरसित जुध्न मुस्किल नपर्न सक्छ । तसर्थ, सरकारले सक्दो चाँडो मुलुकमा खोप भित्र्याएर अभियान सञ्चालन गर्नुपर्छ । र, त्यसका लागि भण्डारण क्षमता बढाउने र जनशक्तिलाई आवश्यक तालिम दिनेलगायतका पूर्वतयारी बेलैमा सम्पन्न गर्नुपर्छ ।

सम्पादकलाई चिठी

खोपको अत्तोपत्तो छैन

- कान्तिपुर संवाददाता


कोरोना महामारी अन्य देशमा खतम हुन लागिसक्यो, त्यहाँका नागरिकले धमाधम कोरानाविरुद्धको खोप लगाइरहेका छन् । हाम्रोमा भने राजनीतिक घटनाक्रमले खोप ल्याउने तयारीमा बाधा पुर्‍याएको छ । नेताहरूको प्राथमिकतामा जनता नपरेपछि हुने यस्तै हो । स्वास्थ्य मन्त्रालयले खोप ल्याउने तयारी गरिरहेको खबर बाहिर आउँछ । तर, खोप कहिले आयात हुन्छ भन्नेबारे मन्त्रालयकै पदाधिकारी अनभिज्ञ छन् । जहिल्यै आगो लागेपछि मात्र कुवा खन्न जाने सरकारी प्रवृत्तिका कारण यसो भएको हो । कोरोनाविरुद्धको खोप ढिलो चाँडो विश्वबजारमा आइपुग्छ भन्ने
स्वास्थ्य मन्त्रालयका हाकिमहरूलाई
थाहै थियो होला । के कसरी ल्याउने
भन्नेबारे बेलैमा तयारी गर्न उनीहरूलाई केले छेक्यो ? खोप ल्याउन ढिला गर्नु भनेको संक्रमितको ज्यान जोखिममा पार्नु हो । योजस्तो गम्भीर विषय अरू के हुन सक्छ ? यस्तो काममा पनि ढिला गर्नुले जनतालाई निराश बनाएको छ । भारतका कतिपय राज्यमा खोप लगाउने तरखर हुँदै छ । के नेपालीले कोरोनाविरुद्धको लगाउन भारत
नै पुग्नुपर्ने हो ?
– नारायण गौतम,
वानेश्वर, काठमाडौं

सम्पादकलाई चिठी

प्रतिगमन परास्त गर्न आन्दोलन

- कान्तिपुर संवाददाता

नेपालको संविधान, २०७२ जनताको संघर्षको प्रतिफल थियो । दशकैं लामो राजनीतिक अस्थिरताको अन्त्य गर्दै देशमा समुन्नत लोकतन्त्र यसले स्थापना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न प्रयास गरेसँगै संविधानको भावना र मर्म कमजोर भएको छ । यही व्यवस्थाले सबैभन्दा माथि पुर्‍याएको व्यक्तिले नै परिवर्तनप्रतिको जनआकांक्षालाई तहसनहस पारिदिए । २०६२–६३ सालको जनआन्दोलले ज्ञानेन्द्र शाहको निरंकुशताबाट मुक्ति दिलायो । यो आन्दोलनमा सहभागी भइरहँदा फेरि निरंकुश शासकविरुद्ध सडकमा आउनुपर्ला भनेर सोचिएकै थिएन । तर, परिस्थिति त्यस्तै बन्दै गइरहेको छ । गणतन्त्र, संविधान र लोकतन्त्रमा संकट उत्पन्न भइरहँदा जनता यसै चुपचाप बस्न मिल्दैन । यो संविधानले जनमतको उच्च कदर गर्दै कुनै एक व्यक्तिको लहडले
संसद् विघटन नहोस् भन्ने चाहेको थियो ।
चुनावलगत्तै कुनै पनि दलले सरकार बनाउन नसक्ने स्थितिमा मात्रै संसद् भंग भएर नयाँ जनमतका लागि जाने हो । जनताले बुझेका यति सामान्य कुरा प्रधानमन्त्री ओलीले नबुझ्लान् भन्नु कसरी ? बुझेरै पनि बुझ पचाएर संविधानको मर्मअनुरूप नचल्ने प्रधानमन्त्रीको ठेगान जनआन्दोलनबाट मात्र सम्भव छ ।
– कुशल घिमिरे, अनामनगर, काठमाडौं

राजनीतिले कोल्टे फेरेसँगै यतिबेला कामचलाउ प्रधानमन्त्री ओली खेमा एकातिर छ भने सिंगो देश अर्कोतिर । प्रधानमन्त्री ओलीका अरौटे, भरौटे, अन्धभक्त कार्यकर्ता र आफन्त/इष्टमित्रबाहेक सबै यति बेला संसद् विघटनको विपक्षमा उभिएका छन् । दुवै पक्षले आफूअनुकूल संविधानको व्याख्या गर्दै आइरहेका छन् । उनीहरूका आआफ्नो व्याख्या सुन्दा कतै संविधान दुईटा पो छ कि जस्तो देखिएको छ । संविाधान नै नमान्ने व्यक्तिले अरू कसलाई मान्ला र ? जो जति कराए पनि सर्वोच्चमा पुगिसकेको विषयलाई त्यसले टुंगो नलगाउँदासम्म पर्खनुबाहेक अन्य विकल्प छैन । नेपालको हरेक क्षेत्रलाई राजनीतिले गाँजेको छ । यस्तोमा सर्वोच्चबाट पनि निष्पक्ष न्याय हुने लक्षण देखिएको छैन । त्यसको छनक त प्रारम्भिक सुनुवाइमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले दिइसकेका छन् । यदि संविधानलाई शिरमा राखेर निष्पक्ष निर्णय गर्न चाहेको भए सर्वोच्चमा परेको यो रिटको टुंगो सुरुआती दिनमै लागिसक्थ्यो । सास रहुन्जेल आस हुन्छ भनेझैं सर्वोच्चबाट अन्तिम टुङ्गो नलाग्दासम्म केही हुन्छ कि भन्ने लाग्दो रहेछ । यदि सर्वोच्चले पनि संसद् विघटन नेपालको संविधानअनुसारै हो भनेर विखण्डनकारीकै पक्षमा निर्णय गरिदियो भने स्थिति कस्तो होला, सम्झँदै अत्यास लाग्छ ।
प्रधानमन्त्रीको चाहनाअनुसार संसद् विघटन गर्न सकिने अघिल्लो संसदीय अभ्यासबाट पाठ सिकेर त्यस्ता कमजारी दोहोर्‍याउनु हुन्न भन्ने जनआन्दोलनको माग थियो । जनताको चाहनाअनुरूप संविधानमा संसद् विघटनको प्रावधान नै हटाइयो भनेर स्वयम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले एक वर्षअघि पत्रकारमाझ बोलेका थिए । आफ्नाले जस्तोसुकै नराम्रो कदम चाले पनि सही हो भन्दिने नेपालीको बानीका कारण नेताहरू बिग्रेका हुन् । नेम्बाङजस्ता वरिष्ठ कानुनविद् र संविधान बनाउँदा नेतृत्व गरेको व्यक्तिले समेत प्रधानमन्त्री ओलीको यो कदम गलत हो भन्न सकेनन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर देशलाई जुन अन्योलतिर धकेलिरहेका छन्, त्यसको विरोधमा सम्पूर्ण नेपाली एकजुट हुनुपर्छ । सर्वोच्चले संविधानलाई न्याय गरेर संसद् विघटनको विपक्षमा फैसला गरिदियो भने यो विषय त्यहीँबाट सकिनेछ । यदि उसले त्यसो नगरे फेरि अर्को २०६२–६३ सालको जन्म हुनेछ र हुनुपर्छ पनि । जसरी त्यस बेला राजाले जनताका सामु घुँडा टेकेका थिए, त्यसैगरी प्रधानमन्त्री ओलीलाई पनि घुँडा टेक्न बाध्य पार्नुपर्छ । संसद् विघटनपछिको प्रधानमन्त्री ओलीको आक्रामक रूप ढिलोचाँडो पोखिन्छ नै । संसद् पुनःस्थापना भयो भने उनको राजनीति लगभग समाप्त हुनेछ । यदि सर्वोच्चले उनको कदमलाई अंकुश लगाएन भने जनआन्दोलनमार्फत प्रतिगमन सच्याउन जनता जाग्नुपर्छ । संविधान र विगतका आन्दोलनको उपलब्धि जोगाउन पनि यसो गर्न जरुरी छ ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

जनताका आँखामा छारो हाल्ने नेताका दोहोरी कति हेर्नु ? एकअर्कोलाई भगौडाको आरोप लगाइरहेका छन्, वास्तवमा संसदै छाडेर भाग्ने सबै भगौडा होइनन् र ? जनताले पाँच वर्षका लागि दिएको मत बदर गर्ने अधिकार कसले दियो प्रधानमन्त्री ओलीलाई ? अरूले काम गर्न दिएनन् भन्दैमा संसद् विघटन गर्ने ? आफू संसद्बाट भाग्ने अनि अरूलाई भगौडा भन्दै भाषण ठोक्ने ? जनतालाई मूर्ख बनाउने ? संविधान पढ्नु भनेर जनतालाई झुक्याउने ? आफू तानाशाह शैलीमा सरकार चलाउन खोज्ने अनि अरूले काम गर्न दिएनन् भन्ने ? के अरू सांसदलाई जनताले विश्वास गरेका थिएनन् ? संसद्मा विश्वास गुमाएको डर लागेको भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो । संविधानमै नभएको व्यवस्थामा टेकी संसद् विघटन गरेर मध्याावधि चुनावबाट ताजा जनादेश लिन तम्सेका प्रधानमन्त्री ओलीलाई फेरि आफ्नै बहुमत आउने आशा छ । उता नेपाल–दाहाल समूह संसद् ब्युँतिए खुसी हुने पक्षमा छ । अरू दल पनि संसद् ब्युँताउनुपर्ने माग राख्दै आन्दोलनमा छन् । कामचलाउ सरकारले मन्त्रिमण्डल विस्तार गरिरहेको छ । प्रधानमन्त्री आफ्नो कार्यालय गएका छैनन् । कोरोना महामारीको कसैलाई मतलब छैन । भीडभाड गरेरै कार्यक्रम गरिराखेका छन् । संसद् विघटनको मुद्दाको फैसला गर्न सर्वोच्च अदालतले ढिलासुस्ती गरिरहेको छ । देश कता गइरहेको छ, कसैलाई थाहा छैन । परिस्थति यति गम्भीर भइरहँदा पनि कसैलाई चिन्ता छैनजस्तो लाग्छ । युवा भोक मेट्न बिदेसिनुपरेको छ । कोरोनाका कारण धेरैको रोजगारी गुमेको छ । यस्तै भइरहने हो भने देशको भविष्य अँध्यारो हुनेछ । जनताले बेलैमा सोच्नुपर्छ ।
– नवीनकुमार देवकोटा, पञ्चदेवल
विनायक–२, अछाम

यतिखेर सत्ताधारी प्रधानमन्त्री र सत्ताविरोधी पूर्वप्रधानमन्त्री समूहबीच आरोप–प्रत्यारोप चलिरहेको छ । स्वार्थप्रेरित समर्थकहरू आफ्नो सुविधाअनुसार एकअर्काको पक्ष लिँंदै छन् । विवाद निर्वाचन आयोग र सर्वोच्च अदालतमा पुगेको छ । चार पूर्वप्रधानन्यायाधीशले संसद् विघटनप्रति असहमति जनाएर विज्ञप्ति निकालेपछि सत्ताधारी ओली समूह केही दबाबमा परेजस्तो देखिन्छ । सत्ता छोड्नुभन्दा संसद् भंग गर्न रुचाउने प्रधानमन्त्री ओलीले भोलि निर्वाचन आयोग तथा सर्वोच्चबाट प्रतिकूल निर्णय र फैसला आए के गर्छन् ? नेपाली कांग्रेस राणा, पञ्चायत र राजा फालेको अनि संविधान पनि आफ्नै
नेतृत्वमा ल्याएको भन्ने गर्छ । दुई कम्युनिस्ट पार्टीको एकता र आफ्नै कमजोरीले पछिल्लो चुनावमा कांग्रेसको अवस्था दयनीय भयो । लगभग दुईतिहाइ मत पाएर पनि भ्रष्टाचारका कारण नेकपा सरकारले बदनामी कमाइरहेको थियो । अहिले संविधान तहसनहस पार्दै कम्युनिस्ट फुटेका छन् । यस्तोमा मुलुकलाई सही दिशामा लैजान प्रमुख प्रतिपक्षी कांग्रेसले विशेष भूमिका खेल्नुपर्छ । यो बेलामा संसद् विघटनको विरोध गर्नु सही छ ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

दृष्टिकोण

'दुःखले आर्ज्याको मुलुक’ सुखभोगमा लुटिएपछि

- अच्युत वाग्ले

 

संयुक्त राज्य अमेरिकाभन्दा नेपाल कम्तीमा आठ वर्षपहिला ‘मुलुक’ बनेको हो । दुवैले अपनाएको प्रक्रिया मूलतः ‘एकीकरण’ नै हो । गोरखाका राजा पृथ्वीनारायण शाहले सन् १७६८ को अन्त्यतिर काठमाडौं र सन् १७६९ मा भक्तपुरमाथि विजय गरेपछि नेपालको एकीकरण प्रक्रिया उत्कर्षमा पुगेको मानिन्छ । यसपछि पनि उनकी बुहारी राजेन्द्रलक्ष्मीे र कान्छा छोरा बहादुर शाहले नेपालको विस्तारलाई निरन्तरता दिए । त्यसको आठ वर्षपछि, ४ जुलाई १७७६ मा अमेरिकाका तेह्र राज्यले एकीकृत रूपले बेलायती साम्राज्यबाट स्वतन्त्रताको घोषणा मात्र गरेनन्, त्यसलाई ‘संयुक्त राज्य’ पनि बनाए । अरू राज्य क्रमशः पछि थपिँदै गएर अहिले पचास राज्यको अमेरिका बनेको छ । अमेरिकी राज्यहरू जनसंख्या र स्रोतका हिसाबले अहिलेको परिभाषामा पनि छुट्टै मुलुक भन्न सकिने आकार र प्रकृतिका थिए । नेपाल बनाउन पनि करिब पाँच राज्य नै एकीकरण भएका हुन् । तर तीमध्ये अधिकतर भुरेटाकुरे तिरो ठेकेदारी राज्य (भासल स्टेट) थिए । यसरी झन्डै एकै समयमा मुलुकको आकार ग्रहण गरेका नेपाल र अमेरिका त्यसपछिको झन्डै अढाई सय वर्षको इतिहासमा चरम आर्थिक–सामाजिक भिन्नता भएका मुलुकहरू बने ।
नेपाल चरम अव्यवस्था, गरिबी एवम् ढुंगेयुग सभ्यताको जीवित संग्रहालय र अमेरिका स्वतन्त्रता, वैभव, सामरिक शक्ति एवम्् समृद्धिको पर्याय छन् अहिले । नेपाल किन यसरी पछाडि पर्‍यो ? यो अचेल बाक्लै सोधिने प्रश्न भएको छ । आज पुस २७ गते ‘पृथ्वी जयन्ती’ को सेरोफेरोमा राष्ट्रिय बहसको मूलधारमा यो प्रश्न बिउँतिनुले पृथ्वीनारायण कालयताको नेपाल नियाल्नु सान्दर्भिक हुनेछ ।

विधि र वंश
२०६२–६३ को जनआन्दोलनमा खास गरी माओवादीहरूको पहलमा पोखरा लगायतका स्थानमा रहेका पृथ्वीनारायणका सालिकहरू
अकारण भत्काइए । उनलाई साम्राज्यवादी र विस्तारवादी भएको अनि
पछि भ्रष्ट बनेको शाह राजतन्त्र स्थापना गरेको आरोप छ । नेपाल
‘मुलुक’ लाई उनको अत्याचारको उपलब्धिका रूपमा मात्र चित्रण गर्ने
प्रयास भयो । यसपछि पटकपटक सत्तामा पुगेको त्यो हिंस्रक
राजनीतिक समूहको उच्च नेतृत्व, मुख्यतः पुष्पकमल दाहालले पृथ्वीनारायणबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । जनजाति आन्दोलनका अभियन्ताहरूले उनलाई दमनकारी र लुटाहाको कोटिमा दर्ता गराउने उद्यम नै गरेका छन् । इतिहास र अभिलेखलाई यसरी अपमानित गर्नु हुँदैन भन्नेहरू स्वतः प्रतिगामी करार गरिए । पृथ्वीनारायणले नेपाललाई त्यति बेला नै सालाखाला यो आकारमा नल्याइदिएका भए यी सबैले राजनीतिचाहिँ केमाथि गर्थे ? नेपाल एकीकरण नभएको भए ‘खलङ्गा,’ ‘थुम’, ‘कोट’, ‘लुङ’ वा ‘हाङ’ राज्यहरू अहिलेसम्म कायमै हुने सामर्थ्य राख्थे त ? यो प्रश्न पृथ्वीनारायणलाई खलनायक देख्नेहरूलार्ई कतैबाट सोधिएको छैन ।
इतिहासविद् महेशराज पन्तका विचारमा, ‘पृथ्वीनारायण शाहलाई यसरी प्रतिनायक बनाउने क्रम उनले नेपालखाल्डो जितेदेखि नै पश्चिमाहरूले गर्दै आएका छन् । त्यति बेलै इटालीबाट धर्मप्रचार गर्न आएका पादरी जुजेप्पेले सुरु गरेका थिए ।’ यो अझै निरन्तर छ ।
अर्को ध्रुवमा, पृथ्वीनारायणको नाम वा शाह वंश–विरासतलाई राजनीतिमा च्याँखे दाउ थापेर आफ्नो स्वार्थको दुनो सोझ्याउन कसरत गर्नेहरू पनि छन् । बढ्दै छन्, अथवा फेरि जुरमुराएका छन् । वास्तवमा इतिहासलाई मात्रै गौरव गरेर अथवा साक्षी राखेर, त्यसबाट पाठ नसिकी मुलुकको भविष्यको समृद्धि र जनताको सुखको राजमार्ग निर्माण गर्न सकिँदैन । पृथ्वीनारायणको गुण र योग्यता वंशज वा तिनका अन्धसमर्थकमा स्वतः सरेर आएको छैन । यो सूक्ष्म चेत यी अन्धभक्तहरूमा पनि छैन । विगत दुई सय चालीस वर्ष उनकै वंशले अकण्टक शासन गर्दा पनि आर्थिक रूपले समृद्ध, कूटनीतिक रूपले सक्षम र सुशासनयुक्त नेपाल निर्माण हुन नसकेको नाङ्गो सत्य हाम्रै अगाडि लम्पसार छ । यो ‘दुःखले आर्ज्याको मुलुक’ ले निरन्तर दुःख नै पाइरहनुका संरचनात्मक कारण र कारकहरूमाथि भने निर्मम र भाव–उद्वेलनरहित (डिस्प्योनेट) बहस वास्तवमै अपरिहार्य भइसकेको छ ।
अमेरिकी स्वतन्त्रताको दस्तावेजलाई लोकतान्त्रिक मूल्यहरूको आधारपत्र मात्र होइन, सुन्दर साहित्यिक कृति पनि मानिन्छ । अमेरिकी स्वतन्त्रता घोषणाले केही महत्त्वपूर्ण सिद्धान्तहरू प्रतिपादित गरेको छ । मानिस जन्ममा समान हुने र जीवन, स्वतन्त्रता र सुखप्राप्ति (लाइफ, लिबर्टी एन्ड पर्सुट अफ ह्याप्पिनेस) मा सबैको समान अधिकार यसका सैद्धान्तिक आधार हुन् । यिनै सिद्धान्तलाई मूल आधार मानेर त्यसको बाह्र वर्षपछि सन् १७८९ मा अमेरिकाको संघीय संविधान बन्यो । यसका प्रमुख लेखकहरू थोमस जेफर्सन, जोन एडम्स, बेन्जामिन फ्र्याङ्कलिन, रोजर सरमन र रोबर्ट लिभिङस्टोन सबैलाई त्यहाँ राष्ट्रिय विभूति मानिन्छ । प्रस्टै छ, यसमा सर्जकहरूको बौद्धिक कदर र, यसर्थ, लोकतान्त्रिक पारदर्शिता छ । स्वतन्त्रता घोषणाका दार्शनिक अवधारणाहरू नै मुलुकको शासकीय विधि निर्माणका आधार बनेका छन् । यिनको महत्त्व र सान्दर्भिकतालाई संसारभर अनुकरण गरिएको छ ।
आस्था र संस्था
पृथ्वीनारायणले आफ्नो राज्यकालमा दिएका उपदेशहरू पनि संकलित छन् (हेर्नुस् ः महेशराज पन्त, देवीप्रसाद भण्डारी, गौतमबज्र बज्राचार्य र दिनेशराज पन्तद्वारा सम्पादित ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश,’ २०२८) । योगी नरहरिनाथजस्ता राजसंस्थाका भक्तहरूले त तिनलाई ‘दिव्योपदेश’ कै उपाधि दिएका छन् । ती उपदेशहरूको सारतत्त्व र उपयोगिता अझैसम्म सान्दर्भिक छ । कम्तीमा यस्तो दाबी छ । सहजै अनुमान लगाउन सकिन्छ— मुलुकको कूटनीति, प्रशासन, अर्थव्यवस्था, युद्ध आदि समेतका विषयमा अभिव्यक्त धारणाहरू उनी एक्लैले लेखेका होइनन्Ù उनका उपदेशहरू जसरी उनको शासनकालभन्दा दुई हजार वर्षपहिलेको कौटिल्य अर्थशास्त्रका सिद्धान्तहरूबाट प्रेरित(?) छन्
(हेर्नुस् ः नयराज पन्त, ‘आचार्य कौटिल्य र श्री ५ पृथ्वीनारायण शाह,’ पूर्णिमा, अङ्क १७, २०२५) ।
यसको सोझो अर्थ हो— यी उपदेशहरू सूत्रबद्ध गर्न त्यतिखेरका संस्कृत भाषाका ठूला विद्वान्हरूको योगदान थियो । तर, यी लिखतमा ती विद्वान्हरू वा भाइभारदारहरूको सामूहिक स्वामित्व कतै प्रकट भएन । शाह राजवंशले त तिनलाई एकलौटी पारिवारिक पैतृक हकका रूपमा व्यवहार गर्‍यो । राज्य सञ्चालन भने निरन्तर पृथ्वीनारायणको मार्गदर्शन वा उपदेशको विपरीत भइरह्यो ।
पृथ्वीनारायणका उपदेशहरू मूलतः व्यावहारिक शासकीय तजबिजमाथिका प्रतिक्रियाजस्ता छन् । उदाहरणका लागि, ‘यो राजे दुई ढुङ्गा बिचको तरुल जसै रहेछ ।’ तिनमा दार्शनिक–राजनीतिक ‘डिस्कोर्स’ को अवयव असाध्यै थोरै छ, तिनमा पूर्वीय वैदिक सभ्यताकै दृष्टिले पनि धेरै आदर्श अभिव्यञ्जना छैन । स्वतन्त्रता, मानवीयता र समानताका बारेमा हाम्रा आफ्नै सभ्यतामा पनि सम्पूर्ण भाष्य छन् । उनका उपदेशमा त्यो दार्शनिक पक्ष कमै प्रतिविम्बित छ । खड्किने अहं पक्ष, उनका वाणीहरूलाई राज्य सञ्चालनको विधि र कौशलमा रूपान्तरण गर्ने अनि दिगो संस्थागत रूप दिने प्रयास कहिल्यै भएन । एकीकृत नेपालको विधान अर्को दुई सय वर्षसम्म बन्न सकेन । सेना र भारदारी सभाको झिनो अपवादलाई छोडेर उपदेश कार्यान्वयनकै लागि आवश्यक शासकीय संस्थाहरूसमेत बनेनन् । सत्तामा पुग्ने केही मानिसका लागि उपदेशहरू भाषणमा जोड्ने तर अभ्यासमा ल्याउनु नपर्ने तुक्का बनिदिए । वंश वा व्यक्तिप्रति आस्थाको केही दलको सैद्धान्तिक आधार नै छ, जहाँ शासकीय प्रणालीका लागि अपरिहार्य संस्था, तिनको प्रभावकारिता र गुणदोषको अपरिहार्य बहसलाई, दुर्भाग्यवश, आस्थाको चर्चाले छोपिदिएको छ । पृथ्वीनारायणप्रति आदर–सम्मानको अहिलेको बान्की ठ्याक्कै त्यस्तै छ ।
पृथ्वीनारायणपछि शाहवंशले दुई सय बत्तीस वर्ष शासन गर्‍यो । शक्ति राजा अथवा बढीमा परिवारभित्र केन्द्रित रह्यो । तिनका मनलाग्दी मौखिक हुकुमहरू नै विधि भए । सुशासनका लागि आवश्यक लोकतान्त्रिक संस्थाहरूको अभावमा पृथ्वीनारायणको मृत्युपछिका त्रिहत्तर वर्ष दरबारी षड्यन्त्र, जोडघटाउ, धोका र हत्यामा बिते । यही कालखण्डमा संसार औद्योगिक क्रान्ति, आर्थिक उन्नति र नयाँ शैक्षिक–दार्शनिक दृष्टि निर्माणको गहन कसरतमा थियो । नेपालका लागि त्यो कालखण्ड पूर्णतः उपलब्धिबेगर खेर गयो । सन् १८४६ मा जंगबहादुरले कोतपर्वमार्फत शासनसत्ता हत्याएपछि शासकीय सत्ताको स्रोत जनसमर्थन र लोकप्रियता झन् रहेन । सत्तावृत्तका निर्मम हत्याका पुष्ट–अपुष्ट चुहिएका समाचारहरूले त्यो चेतनाशून्य युगका आमजनतालाई जसरी त्राहिमाम् पारेका थिए, त्यसबाट शासनको लगाम थप कसिलो बनाउन जंगबहादुरलाई निश्चय धेरै सहज भएको थियो । तर यस्तो भय एकतफर्mी मात्र थिएन । यति त्रूर, हिंसात्मक र अलोकप्रिय बाटोबाट सत्तामा बस्न आइपुगेका जंगबहादुरको मुटु पनि कुनै न कुनै अर्को यस्तै षड्यन्त्रबाट मारिनु वा सत्ताच्युत हुनुपर्ला भन्ने भयले निरन्तर काम्थ्यो होला भनी अनुमान गर्न गाह्रो छैन ।
त्यसैले उनले शासनसत्ता हातमा लिएपछि विधिसम्मत शासन गर्ने सम्भावनालाई लत्त्याएर नयाँ जहानियाँ रोलक्रम स्थापित गरे । मुलुकदोहन गरेको सम्पत्ति विदेश लैजाने परम्पराको सुरुआत उनैले गरे । सत्ता टिकाउनका लागि भारतमा राज्य गरिरहेको अंग्रेज साम्राज्यको सहायता लिनु सबभन्दा उपयुक्त रणनीति बन्यो । मुलुकको उन्नति र जनताको सुखका लागि काम गरेर जनविश्वास जित्ने लामो बाटो समाउनुभन्दा ‘एउटै प्रभु’ को विश्वास जितेर उसको शक्तिको धाक–रवाफमा शासन गर्ने नजिर स्थापित भयो । राणा परिवारभित्रको झैझगडा, किचलो र सत्ताको छिनाझपटीमा बाहिर पारिने वा पर्ने राणाहरूले नेपालको अथाह सम्पत्ति विदेश लगे । यहाँबाट लखेटिएका राणाहरूले भारतका विभिन्न ठाउँमा बनाएका दर्जनौं भीमकाय दरबारहरूमा सम्पूर्णतः नेपालको धन खर्च भएको छ ।
पृथ्वीनारायणले भनेका थिए, ‘देसका कपरा लगाउनालाई मन्हाइ गरिदिनु. आफ्ना देसका कपरा बन्न जान्यालाई नमना देषाई सघाउनु र बन्न लाउनु र यस्व भया नगत देस जादैन । आफ्ना देसको जिनिस् जरिबुटि देस लैजानु र नगत षैचनु. नगत षैचिरहनु ।’ (‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश,’ पृष्ठ ३२४) । यसरी नगद खैंचने कुरा अब क्रमशः किंवदन्ती हुँदै छ । नेपाली पूर्णतः आयातनिर्भर भएका छौं ।
त्यस्तै, सत्तामा पुग्न वा टिकिरहनका लागि खास गरी दक्षिणी शक्तिको सहारा लिने क्रम भारतबाट अंग्रेज शासन र नेपालबाट राणा शासन हटेपछि पनि अहिलेसम्म कायम छ । पृथ्वीनारायणको ‘चीनबादसासित ठूलो घाहा राष्नु. दषिनको समुद्रका बादसासित घाहा ता राष्नु. तर त्यो महाचतुर छ.’ (ऐऐ, पृष्ठ ३२२) भन्ने उपदेशले आधुनिक कूटनीतिक प्रस्टीकरण खोजेको छ । उनले दिएका उपदेशअनुरूपको कता खेती गर्ने र कता आवास बनाउने चेत नहुँदा सबभन्दा उर्बर जमिनमा अव्यवस्थित सहरहरू बसेका छन् ।
राज्य सञ्चालनका लागि आवश्यक पर्ने संस्था निर्माण हुन सकेका छैनन् । गत साता अमेरिकी संसद् भवन कब्जा भएको दृश्यले अमेरिकी लोकतन्त्रको मुखुन्डो उत्रिएको चर्चा पनि व्यापक छ । तर लोकतान्त्रिक संस्थाहरू खास गरी न्यायालय, संसद् र अन्य राजकीय संस्थाहरूको सहनक्षमता (रेजिलियन्स) र व्यावसायिकता पनि उसै गरी उजागर भएको छ । नेपालमा सर्वत्र खड्किएको अभाव यही ‘रेजिलियन्स’ हो ।
पृथ्वीनारायणका उपदेशहरूको सच्चा अनुसरण गर्नेभन्दा उनलाई नायक वा खलनायक बनाएर कित्ताकाटको राजनीति गर्ने आतुरी धेरैमा देखिएको छ । मुलुकलाई सत्तामा पुग्नेले सधैं दोहन मात्रै गर्ने हो भने यो दुःखले आर्ज्याको राज्यको भविष्य उनीप्रतिको ओठेभक्तिले मात्र सुखमय बनाउन असम्भव छ ।

Page 7
दृष्टिकोण

राष्ट्रवाद एक विमर्श

- अम्बिकाप्रसाद जोशी

पृथ्वीनारायण शाह एकीकरणका सूत्रधार हुन् अथवा महत्त्वाकांक्षी आक्रमणकर्ता, यो इतिहासको ‘रिडिङ’ माथि भर पर्ला, तर पृथ्वीनारायणलाई छुटाएर गरिएको नेपाली राष्ट्रियताको विश्लेषण अपूर्ण हुन जान्छ । बीआरआई र एमसीसीका कारण सृजित आन्तरिक कलह होस् या आन्तरिक राजनीति मिलाउन बेइजिङ र दिल्लीको खटन, हामी दुई ढुंगाबीचको तरुल भएको तथ्य आज पनि पुष्टि हुन्छ । यद्यपि ‘प्रजा मोटा भया दरबार बलियो रहन्छ’ भन्ने दिव्योपदेश उनका दरसन्तान र भाइभारदारहरूले व्यवहारमा उतारेको देखिएन । जनताको बुई चढी सत्तारोहण गर्नमै सबै व्यस्त रहे । एमसीसी र कालापानी विवाददेखि सघन हुँदै गएको बहसले सीमाभित्रको विभेद र विविधतालाई ख्यालै नगरी सीमामा जनता लडाएर राज गर्ने शासकहरूको राष्ट्रियतामाथि धेरथोर प्रश्न उठायो । यसबीच कसैले अठारौं शताब्दीको युरोपजस्तै राष्ट्रियता ठीक नभएको बताए, कसैले रवीन्द्रनाथ टैगोरले भनेजस्तै भौगोलिक सीमाभित्र बाँधिएको राष्ट्रियताभन्दा पनि मानवताका पक्षमा उभिनुपर्ने तर्क गरे त कसैले राष्ट्रियता एकलौटी नहुने जिकिर गरे । यो आलेखले राष्ट्रियताको सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै गणराज्य नेपालका सन्दर्भमा यसबारे हुनुपर्ने बुझाइबारे चर्चा गर्नेछ ।

राज्य, राष्ट्र र राष्ट्रियता
राष्ट्रियता या राष्ट्रवाद राष्ट्रको अवधारणाबाट जन्मिन्छ । राष्ट्र राज्यभन्दा पृथक् अवधारणा हो, तर राष्ट्रको व्याख्या राज्य चलाउनेहरूले नै गरे या तिनै विद्वान्हरूको सोचलाई राज्यले पढायो जसले सत्ताका मालिकहरूको निहित स्वार्थ पूरा गर्थ्यो । सम्भावित विद्रोह या वैकल्पिक राज्यव्यवस्थाका मोडलहरूलाई दबाउन ‘नेसन’ र र ‘स्टेट’ लाई समानार्थी शब्दका रूपमा प्रयोग गरियो । परिणामस्वरूप, हामीले राज्य प्रशासनलाई नै राष्ट्र ठान्न थाल्यौं र राज्य बचाउनुलाई नै राष्ट्र बचाउनु या राष्ट्रियताको संरक्षण गर्नु ठान्न थाल्यौं ।
राष्ट्रियता निश्चित समुदाय या समुदायहरूका बीचमा साझा इतिहास, संस्कृति, परम्परा, भाषा तथा सभ्यताका आधारमा स्थापित ‘हामी एकै हौं’ भन्ने भावना हो । यस्तो भावनाले जाति–जनजातिजन्य सम्प्रदाय (इथनिक कम्युनिटी) को निर्माण गर्छ जसलाई ‘राष्ट्र’ या ‘मुलुक’ भनिन्छ । राष्ट्र यस्तै भावनाले एकताको सूत्रमा आबद्ध मानिसहरू वा मानव समुदायहरूको समूह हो । इतिहास, परम्परा, भाषा, संस्कृति तथा धर्मका आधारमा सँगै बाँधिएको जनसंख्या साझा चेतनाले ओतप्रोत हुने हुँदा यस्तो समुदायमा सांस्कृतिक, मनोवैज्ञानिक तथा भावनात्मक एकता हुन्छ र आर्थिक मूल्य चुकाएर पनि सँगै बस्न चाहन्छ । हेनरी ब्रसेजले राष्ट्रलाई सांस्कृतिक रूपमा सजातीय मानिसहरूको समूह (कल्चरल होमोजिनस ग्रुप) भनेका छन्, तर राज्य त्यस्तो समुदायलाई शासन गर्न बनाइएको एक प्रशासनिक संस्था हो । निश्चित भूभागभित्र बसोबास गर्ने मानव समाजलाई शासन गर्न बनेको कानुन, राजनीति या प्रशासन नै राज्य हो ।
राष्ट्रको एक सामूहिक अधिकार हुन्छ । राष्ट्रको भौगोलिक सीमा यहीँनेर पर्छ भनेर ठ्याक्कै लाइन खिच्न गाह्रो हुन्छ र यदि सकिएछ भने पनि यो आधुनिक भौगोलिक राज्यको सीमासित मिल्छ नै भन्ने छैन । त्यसैले, बेनिडिक्ट एन्डरसनले यस्तो राष्ट्रलाई ‘एक काल्पनिक समुदाय’ भनेका छन् । तर भौगोलिक सीमा अनि आफ्नै सरकार र प्रशासन नभएको राज्यको परिकल्पना गर्न सकिँदैन । इजरायल बन्नुपूर्व यहुदी साम्प्रदायिक–सांस्कृतिक साझा चेतना बोकेको एक राष्ट्र नै थियो, सन् १९७१ पछि मात्रै पूर्वी पाकिस्तान बंगलादेश राज्य बन्यो, सिंहाली बाहुल्यबाट अलग्गिएर तमिलहरूको अलग्गै राज्य बनाउने रहर पूरा हुन सकेन ।
सार्वभौमसत्ताबिना पनि राष्ट्र अस्तित्वमा रहन सक्छ, जसले राज्यको भौगोलिक सीमासमेत पार गरेको हुन्छ । भनिन्छ, फ्रान्सेली राष्ट्र यसको भौगोलिक सीमाबाहिर बेल्जियम, स्विट्जरल्यान्ड र इटालीसम्म पुग्छ । दोस्रो विश्वयुद्धपूर्व पूर्वी जर्मनी र पश्चिमी जर्मनी दुई फरक राज्य थिए तर राष्ट्रियता एकै थियो भने, दक्षिण कोरिया र उत्तर कोरियाबीच शक्तिराष्ट्रहरूको चलखेलका कारण उत्पन्न वैमनस्य र द्वन्द्वबाहेक खासै साम्प्रदायिक भिन्नता छैन । सत्ताको क्रूर स्वभावकै कारण त्यहाँ परिवारहरू वर्षौंदेखि भेट हुन पाएका छैनन् । नेपाली राष्ट्रियता पनि नेपाली राज्यको भौगोलिक सीमाबाहिर समेत छरिएको छ— नेपालका नेपाली होऊन् या दार्जिलिङ र बर्माका, भाषा, परम्परा र इतिहासको कुनै विन्दुमा भोगेको साझा अनुभूतिको स्मृतिले अन्तर्मनमा एक भएको बोध गराउँछ । यसरी एउटै भौगोलिक राज्यभित्र एकभन्दा बढी साम्प्रदायिक राष्ट्रियताहरू अस्तित्वमा रहनु स्वाभाविक हो ।
आफ्नो राष्ट्रिय संस्कृति र पहिचान बचाउँदै आफैंले बनाएको कानुन, आफैंले चुनेको सरकार र यसका अधिकारीहरूद्वारा शासित हुने चाहना बहुराष्ट्रिय राज्यहरूभित्र रहेका सह–राष्ट्रियताहरूमा सुषुप्त हुन्छ । संघीयता पनि भौगोलिक रूपले अखण्ड बहुराष्ट्रिय राज्यभित्र स्वशासनको चाहना राख्ने सह–राष्ट्रियताहरूलाई सम्बोधन गर्ने शासकीय प्रयत्न हो ।
राष्ट्र जनता हुन् । सबै नेपालीको साझा चरित्र राष्ट्रियता हो भने राज्य चाहिँ प्रशासन हो । अमेरिकी सरकारलाई ट्रम्प प्रशासन भनेजस्तै ओली प्रशासनलाई पनि राज्य मान्न सकिन्छ । यद्यपि राज्यका सबै निकाय सरकारअन्तर्गत आउँदैनन् । राज्यले अदालत, प्रहरी, सेना, शिक्षा तथा स्वास्थ्य संस्थामार्फत आफ्नो संयन्त्र विस्तार गरेको हुन्छ । यीमध्ये कोही जनताको सेवा तथा सुरक्षा गर्न खोलिएका हुन्छन् भने कुनै जनतालाई नियन्त्रण र निगरानी गर्न । त्यस्ता संयन्त्र राज्यभित्र बसोबास गर्ने मानिसहरूबाटै बनाइएका हुने भए पनि तिनले सर्वदा जनहितमै काम गर्छन् भन्ने छैन ।
बिनाकुनै भेदभाव जनकल्याणका निम्ति काम गर्दा राज्यको समर्थन गर्नु, जनताका विरुद्ध काम गर्ने या राष्ट्रिय प्रतीक र नाराहरूको दुरुपयोग गरी देशभित्रका समस्याहरूलाई दबाउन सीमा तथा अन्तर्राष्ट्रिय त्रास देखाई सत्ता टिकाउन खोज्ने राज्य प्रशासनको विरोध गर्नु र राज्यलाई सही दिशानिर्देश गर्नु नै देशभक्ति हो । राज्यको भाष्यका रूपमा राष्ट्रियताको व्याख्या सधैं जनहितमा नहुन सक्छ । शासक र जनताको राष्ट्रवादमा फरक छुट्याउन सक्नुपर्छ । राष्ट्रियता र राष्ट्रियतामाथि गरिएको सत्ता राजनीतिबीच भिन्नता छुट्याउन नसक्दा ‘पपुलिस्ट डेमोगग’ हरूको उदय हुने र जनजीविकाका सवालहरू ओझेलमा पर्ने डर हुन्छ । अमेरिकामा ट्रम्पको उदय र रुसमा पुटिनले सन् २०१३ मा क्रिमिया विलय गरेपछि एक्कासि बढेको उनको लोकप्रियतालाई यसका उदाहरणका रूपमा हेर्न सकिन्छ ।

साम्प्रदायिक राष्ट्रवादबाट नागरिक राष्ट्रवादतिरको यात्रा
कुनै भूगोलभित्र एउटै साम्प्रदायिक राष्ट्रियता भएका मानिस बसोबास गर्दा त एउटा सजातीय आदर्श राष्ट्र–राज्य बन्थ्यो तर संसारका राष्ट्र–राज्यहरू शासकहरूको सैन्य विजय र पराजयको इतिहासबाट निर्माण भएका तथा राज्य जोगिन र जनकल्याणको व्यवस्थापन गर्न अपनाउनुपर्ने शासकीय स्वरूपका कारण ‘जोग्राफिक युनिटी’ र ‘इथनिक युनिटी’ ठ्याक्कै मिल्ने ‘एक राष्ट्र, एक राज्य’ भएका राष्ट्र–राज्यहरू निकै कम छन् । अधिकांश राज्यको जनसंख्याको चरित्र बहुल र बहुराष्ट्रिय छ ।
एकै सम्प्रदाय बसोबास गर्ने राज्यमा समेत सूक्ष्म पहिचानहरूका समानान्तर र आर्थिक वर्गका अनुलम्ब विभाजनहरू आउने निश्चितप्रायः हुन्छ भने, राज्य निर्माणको प्रक्रियामा विजयी र पराजित पहिचानहरूबीच उत्पन्न भएको द्वन्द्व पनि कायमै हुन्छ । साम्प्रदायिक राष्ट्रियताका आधारहरू, भाषा, संस्कृति, इतिहास तथा जाति–जनजातिका आधारमा पनि फरकफरक पहिचानहरू देखा पर्छन् । सत्रौं शताब्दीमा युरोप भाषिक–सांस्कृतिक राष्ट्रियताकै आधारमा ससाना टुक्रे राज्यहरूमा विभाजित भयो भने, नेपाल र भारतमा आज विकसित पहिचानका आफ्नै राज्यहरू थिए । यसरी सजातीय राज्यभित्रै पनि धनी–गरिब, सहरिया–गाउँले, शासक–शासित विभाजनहरू देखा पर्छन् भने, समूहविशेषलाई मात्रै लाभान्वित गर्ने राष्ट्रियता संरक्षण गर्न किन गरिबको छोरो सीमामा ज्यान जोखिममा राख्न तयार हुने तथा आम नागरिकका लागि करको बोझ तथा सीमावारपार व्यवधान खडा गर्ने राष्ट्रियता किन स्वीकार गर्ने भन्ने प्रश्नसमेत उठ्न सक्छ । यस्तो अवस्थामा न बहिर्मुखी राष्ट्रियताले मात्रै काम गर्न सक्छ न त ‘एक राष्ट्र, एक राज्य’ को सूत्र सफल हुन सक्छ । राष्ट्रियतालाई बाह्य रूपमा सशक्त र आन्तरिक रूपमा न्यायोचित बनाउन साम्प्रदायिक राष्ट्रवादबाट नागरिक–संवैधानिक राष्ट्रवाद तथा संकुचित राष्ट्रवादबाट समावेशी राष्ट्रवादमा जानुपर्ने हुन्छ । यसको मूल कारण आन्तरिक न्यायमार्फत राष्ट्रिय एकता कायम गर्नु हो । मौजुदा सम्प्रदायहरू, क्षेत्रीय समुदायहरू तथा आर्थिक वर्गहरूबीच न्यायोचित सम्बन्ध स्थापित नगरी राष्ट्रियता बलियो हुन असम्भवप्रायः छ । बहुराष्ट्रिय राज्यहरूमा सहायक राष्ट्रियताहरूको व्यवस्थापन एक चुनौती हो भने, शासकहरूले राष्ट्रियतालाई बाह्य खतराका रूपमा प्रचार गरी राष्ट्रभित्रका सघन सवालहरूलाई दबाएर शासन गर्ने छद्म प्रयास अर्को चुनौती हो । केही सीमित घरानालाई मात्रै सघाउने, निश्चित समुदाय र वर्गका मान्छेलाई मात्रै पोस्ने गरेर सम्प्रेषित गरिएको राष्ट्रियता न जनताको हुन सक्छ न त कुनै गणराज्य यस्तो बहिष्करणकारी राष्ट्रवादमा फल्न–फुल्न सक्छ ।
राज्यभित्रका जातीय–जनजातीय, क्षेत्रीय, वर्गीय तथा लैंगिक पहिचानहरूको हितका निम्ति यिनीहरूबीच हुने द्वन्द्व — जस्तै ः श्रमिक र पुँजीपति वर्गबीचको स्वार्थको लडाइँ, सहरी र ग्रामीण क्षेत्रको हितको लडाइँ, कृषिप्रधान र औद्योगिक क्षेत्रबीच हुने स्वार्थको द्वन्द्व — गृहयुद्धमा समेत परिणत हुन सक्छ । राज्यको आन्तरिक राष्ट्रियताभित्र हुने यस्ता द्वन्द्व तथा वर्गीय, क्षेत्रीय, लैंगिक, भाषिक तथा सांस्कृतिक पहिचानहरूको समुदायगत हित प्रवर्द्धन गर्दा आइलाग्ने द्वन्द्वहरूको समाधानका निम्ति निश्चित साम्प्रदायिक राष्ट्रियताबाट सबै अटाउने, कोही नछुट्ने, कसैमाथि अन्याय नहुने नागरिक राष्ट्रियतामा जानुपर्ने हुन्छ ।
हरेक राज्य राष्ट्रले आफ्नो राष्ट्रियता आफ्नो इतिहासका विजेताहरूको हितमा परिभाषित गरेको हुन्छ । परिणामस्वरूप, बितेको इतिहाससित सन्तुष्ट र असन्तुष्ट दुवै पक्षको द्वन्द्वको जड पनि राष्ट्रिय प्रतीक तथा नाराहरू हुने गर्छन् । यसरी परिभाषित गरिएको राष्ट्रियतामाथि गर्व गर्ने र यस्तो राष्ट्रियतासित असन्तुष्ट रहने समुदायहरूबीच द्वन्द्व हुने अवस्था आउँछ, जसलाई ‘एनोमायी अफ नेसनालिजम’ भनिन्छ । ‘एनोमायी अफ नेसनालिजम’ इतिहास र राष्ट्रलाई हेर्ने विजयी र पराजित पक्षहरूबीचको वैचारिक द्वन्द्व मात्रै नभई विगतमा विजयी पक्षले पराजित पक्षमाथि गरेको आर्थिक शोषण, सामाजिक अन्याय तथा राजनीतिक वञ्चितीकरणको हिसाब वर्तमानमा राज्यसंयन्त्रले गर्नु पर्छ या पर्दैन भन्ने नीतिगत प्रश्नसमेत हो । यही सामाजिक विभेद र आर्थिक शोषणको शान्तिपूर्ण सम्बोधन गर्न लोकतन्त्रसित समाजवाद व्यवहारमै जोड्नुपर्ने हुन्छ । नेपालका सन्दर्भमा यस्तो नीतिगत प्रश्न आजसम्म हल भएको छैन । संविधानले अंगीकार गरेको समाजवादी लोकतन्त्रलाई सूक्ष्म स्तरसम्म कार्यान्वयन गर्न नसक्दासम्म यो मुद्दा झन् गम्भीर हुँदै जानेछ ।

नेपाली राष्ट्रियताको स्वभाव र चुनौती
नेपाल संविधानतः बहुराष्ट्रिय राज्य हो । परम्परागत रूपमा नेपालको राष्ट्रियतालाई बाह्य सम्बन्ध र सीमा अतिक्रमणसितै जोडेर परिभाषित गरिए पनि मधेस आन्दोलन, माओवादी विद्रोहले उठान गरेका नेवाः, थरुहट, लिम्बूवान, मगरात, सुदूरपश्चिम र कर्णालीजस्ता जातीय र क्षेत्रीय पहिचानवादी आन्दोलनहरूले राष्ट्रियतालाई आन्तरिक समायोजनको विषयका रूपमा स्थापित गरे भने, गाउँले–सहरिया तथा हुने–खाने र हुँदा खानेबीचको द्वन्द्वले राष्ट्रियतालाई आर्थिक न्याय र अवसरको वितरणसित सम्बन्धित वर्गीय प्रश्नका रूपमा खडा गर्‍यो । यीमध्ये पनि मधेस व्यवस्थापन समस्याका रूपमा नेपाली राज्यसामु आयो ।
पूर्वमा दार्जिलिङ, सिक्किम र असमका नेपालीभाषीहरूसँगै एकै समुदायमा बसेका पूर्वी नेपालका दाजुभाइहरू नेपाल–भारतको भौगोलिक सीमांकनले बाँडिएर बस्नुपर्‍योÙ मधेसमा मिथिला र भोजपुरा समुदायका दाजुभाइहरू राज्यको सिमानाकै कारण अलग हुनुपर्‍यो भने, कुमाउ–गढवालसँगै बसेका सुदूपश्चिमका जनता सिमानाका कारण बाँडिनुपर्‍यो । यस्तै, उत्तरमा एकै परिवार र वंशका मानिसहरू तिब्बत र नेपालको भौगोलिक सिमानाले गर्दा विभाजित छन् भने, नेपालको भूगोलभित्रै बसोबास गर्ने नेवार, मगर, गुरुङहरू तथा ब्राह्मण, क्षत्री र दलितहरूले सँगै मिलेर बस्न पनि आफ्ना समुदायगत पहिचानमा सम्झौता गर्नुपरेको छ । यो नेपाली राज्यको मात्रै अवस्था होइन, संसारका प्रायः राज्यमा बसोबास गर्ने सम्प्रदायहरूले आधुनिक राज्यको भौगोलिक सिमानाकै कारण आफ्नै समाजका मानिसहरूबाट विभाजित भएर बस्नुपरेको छ । बंगालीहरू बंगलादेश र भारतको पश्चिम बंगालमा विभाजित छन्, तमिलहरू तमिलनाडु र श्रीलंकामा बाँडिएका छन्, क्युबेकहरू फ्रान्स र क्यानडामा विभाजित भएर बसेका छन् । तर राज्यको सिमानाले जतिसुकै रोके पनि इतिहासको साझा स्मृति र विरासतले गर्दा यस्ता विभाजित समुदायहरूमा आपसी सम्बन्ध बनाइराख्ने चाहना चाहिँ हुन्छ ।
नेपाली राज्यले अपनाउने राष्ट्रियताको अवधारणा, राष्ट्रिय प्रतीकहरू तथा राष्ट्रगान लगायतमा नेपाली भूगोलभित्र बसोबास गर्ने सबै समुदायको प्रतिनिधित्व हुनुपर्छ भने, आधुनिक राज्यले आफ्नो राष्ट्रियता र नागरिकता व्यवस्थापन गर्दा यस्ता भावनाहरूको विशेष ख्याल गर्नुपर्छ । नेपालको केन्द्रीय सत्ताले यस्ता आन्तरिक राष्ट्रियताहरूको व्यवस्थापन गर्दा मात्रै नेपालको बाह्य राष्ट्रियता बलियो हुन्छ । त्यसैले हाम्रा आन्तरिक सवालहरूसित नजोडी राष्ट्रियतालाई सीमा र अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासित मात्रै जोड्दा राष्ट्रियतासम्बन्धी बुझाइ अधुरै हुन्छ अनि त्यस्तो राष्ट्रियता जनताको नभई केही शासक र नेताको मात्रै हुन्छ । जनतालाई सीमामा लडाएर देश लुट्ने पुराना निरंकुश र आत्मकेन्द्रित शासकहरूको विशेषता नै यस्तो बहिर्मुखी राष्ट्रियता हो । सीमामा ज्यान जोखिममा राख्ने सिपाहीको आर्थिक तथा सामाजिक हकहित रक्षाको सवाल राष्ट्रियतासित जोडिएन भने संकटका बेला राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता जोगाउन किन कोही गरिबको छोरो लड्न तयार हुन्छ ?
हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेकाले राष्ट्रियतालाई आन्तरिक पहिचान र क्षेत्रीय विविधता, स्रोत र अवसरको वितरण तथा व्यवस्थापनसित नजोडी यो जोगिँदैन । आन्तरिक राष्ट्रियता, वितरण र विकासको समस्यालाई समाधान नगरी बाह्य चुनौतीहरूसित लड्न सकिँदैन । यसले गृह राजनीतिमै नकारात्मक परिणाम ल्याउँछ भने बाह्य चुनौतीहरूलाई नजरअन्दाज गर्दा त झन् अस्तित्व नै खतरामा पर्न जान्छ । अहिलेसम्म नेपाली राष्ट्रियतालाई केही निश्चित राजनीतिक घराना र नेताहरूको लाभका निम्ति बहिर्मुखी बनाएर प्रस्तुत गरियो भने, आन्तरिक पहिचानहरूलाई दबाएर एक भाषा, एक पोसाक, एक वेशभूषालाई मात्र नेपाली राष्ट्रियताको प्रतीकका रूपमा प्रस्तुत गर्ने कोसिस गरियो । त्यसैले मधेसले सवाल उठाउँदा या थारूले पहिचान माग्दा, दलितले न्याय माग्दा होस् या सुदूरपश्चिम एक हुँदा, नेवारले इतिहास सम्झाउँदा होस् या लिम्बूले गुमाएको किपट खोज्दा हामी झस्किन्छौं । राजसंस्था त गयो तर राष्ट्रियतालाई हामीले राजाका वरिपरि, दरबार र दरबारियाहरूको निहित स्वार्थका लागि परिभाषित गर्ने सोच त्याग्न सकेनौं । अब नेपाली बोल्दा राष्ट्रवादी भइने र नबोल्दा अराष्ट्रवादी हुने, दौरा–सुरुवाल–टोपी लाउँदा राष्ट्रप्रेमी अनि नलाउँदा राष्ट्रद्रोही भइँदैन । आजको संघीय राज्यसत्ता हाम्रा प्रदेशहरू र भाषा, जाति–जनजातिजन्य पहिचानहरूको समष्टि रूप हो । त्यसैले नेवारी, मधेसी, लिम्बू, राई, मगर, पूर्व–पश्चिम सबैतिरका जनताको पहिचान, भाषा, वेशभूषा र रहनसहनको समष्टिगत रूप नै नेपाली राष्ट्रियता हो । यिनीहरूमध्ये कुनै पनि समुदायको चरित्रलाई छुटाएर नेपाली राष्ट्रियताको परिकल्पना गर्न सकिँदैन । त्यसैले राष्ट्रिय प्रतीकहरूको चयन गर्दा होस् या नाराहरू बनाउँदा अथवा नीति बनाउँदा, कोही छुट्नु हुँदैन र कसैका निम्ति कसैले आफ्नो पहिचान मेटाउनुपर्ने अवस्था आउन दिनु हुँदैन ।
यसरी राष्ट्रियतालाई समावेशी, जनतासँग जोडिएको, सुशासनसित जोडिएको, विभेदरहित बनाउन हाम्रो पुरानो साम्प्रदायिक राष्ट्रवादबाट आधुनिक नागरिक राष्ट्रवादमा जानुपर्ने हुन्छ । यस्तो ‘सिभिक नेसनालिजम’ संविधानमा उल्लेख गरिएका मौलिक अधिकार, नीति तथा निर्देशक सिद्धान्तहरू र राज्य निर्माणको सामाजिक सम्झौताका आधारमा परिभाषित गरिनुपर्छ । कुनै पनि नागरिक या शासकलाई राष्ट्रियताको मापदण्डले मूल्यांकन गर्दा उसले सबै जनताका हितमा विदेशीसित गरेका सन्धि–सम्झौता र आन्तरिक राजनीतिमा निम्त्याइएको बाह्य हस्तक्षेपका साथै जनकल्याण, आर्थिक–सामाजिक न्याय, देश विकास र राष्ट्रहितमा गरेका कामहरूका बारेमा मूल्यांकन गरिनुपर्छ ।
राष्ट्रवादलाई सीमा र अन्तर्राष्ट्रिय सम्मानका साथै जनता र तिनका सम्प्रदायहरूको कल्याण र सुरक्षा, स्वाधीनता, समानता र सम्पन्नतासित जोडेर हेर्नुपर्छ । आफ्नो आर्थिक हैसियत र राज्यको क्षमताको आकलन नगरी अन्तर्राष्ट्रिय शक्तिराष्ट्रहरूको चलखेलमा फस्न पुग्दा राष्ट्रिय स्वाधीनता नै संकटमा पर्ने त्रास रहन्छ भने, अनावश्यक रूपमा सशंकित हुँदा विकासका गतिविधि धीमा हुने मात्रै होइन, हामी बाँकी विश्वबाट अलग्गिएर बस्नुपर्ने हुन सक्छ । यदि नेताको राष्ट्रियतासित सम्बन्धित अभिव्यक्तिलाई संविधानवाद, लोकतन्त्र, समाजवाद, समावेशीकरण, आर्थिक हित तथा अन्तर्राष्ट्रिय अन्तरनिर्भरताको कसीमा नजोखी समर्थन या विरोध गरियो भने विश्व राजनीतिक परिदृश्यमा ट्रम्फहरू दोहोरिरहने मात्रै हुन् ।
जोशी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका शोधार्थी हुन् ।

दृष्टिकोण

इमानको परीक्षामा न्यायालय

- डा. गोविन्द केसी

अपराध र न्यायबारे मानिसहरूले दुई किसिमले सोच्ने गर्छन् । एक, अपराध वा गलत काम नगर्नु र न्यायिक दण्डको भागीदारै नहुनु । दुई, अपराध गर्नु तर प्रमाण यसरी लुकाउनु वा दबाउनु कि न्यायको कठघरामा उभिनै नपरोस् ।
सबैलाई जाहेरै छ, नेपाली राजनीतिका सबैजसो शीर्ष खेलाडीहरूले अपराधलाई दोस्रो तरिकाले हेर्छन् । आर्थिक अनियमितता र भ्रष्टाचार होस् वा पदीय शक्तिको अन्य खालको दुरुपयोग, भरपूर अपराध गर्ने अनि दण्डित हुनु नपरोस् भनेर विधिको शासनलाई निस्तेज पार्ने । अख्तियारदेखि अदालतसम्मका नियुक्तिमा चलखेल गरेर दण्डहीनता सुनिश्चित गर्ने । नेपालमा अहिलेसम्म बनेको कुनै पनि सरकार भ्रष्टाचारका मामिलामा चोखो छैन । तर अहिलेको सरकार बनेपछि अकासिएको भ्रष्टाचार र दण्डहीनताबारे हामीले बारम्बार आवाज उठाउँदै आएका छौं । पछिल्लो समयचाहिँ सत्तारूढ दलका नेताहरूले नै ती आरोप पुष्टि हुने गरी एकअर्कालाई आरोप लगाइरहेका छन् ।
विधि कुल्चेर संवैधानिक व्यवस्थालाई निस्तेज पार्ने होडमा अहिले प्रधानमन्त्री ओली बाँकी सबैलाई पछि छाडेर माइलौं अगाडि पुगिसकेका छन् । खेल हार्ने भएपछि बल बोकेर घर हिँड्ने बालकजस्तो उनले पहिले पार्टीभित्रको विवाद छल्न संसद् विघटन गरे । अनि अहिले कोभिड महामारीबीच कार्यकर्ता जम्मा पारेर एकपछि अर्को प्रहसन गरिरहेका छन् । कार्यकर्ताहरू पेट मिचीमिची हाँसिरहेका छन् । प्रधानमन्त्री ओली र उनका चुट्किलामा मुग्ध हुनेहरू अहिले एउटा अलग्गै मानसिक संसारमा छन् । तिनको कल्पनामा ओलीले अनन्तकालसम्म नेपालमा शासन गर्नेछन्, वैशाखमा हुने चुनावमा बहुमत ल्याएर होस् वा चुनावै नगराएर । ओलीले बिनाव्यवधान शासन गर्न पाएसँगै देशले विकास र समृद्धिको फड्को मार्नेछ । अनि देशका तमाम समस्या समाधान हुनेछन् ।
तर, त्यस्तो मुग्धता वा ‘ट्रान्स’ को झिल्लीबाट बाहिर निस्कने हो भने यथार्थ दर्दनाक छ । अरू देश कोभिड भ्याक्सिनको होडमा लाग्दा नेपाल सरकारको प्राथमिकतामा महामारी कहीँ–कतै अटेको छैन । बरु महामारी नियन्त्रणका लागि भनेर गरिएको सामग्री खरिदलाई सरकारका मानिसहरूले अर्बौं भ्रष्टाचार गर्ने अवसरका रूपमा लिएका छन् । महामारीले अझै गराइरहेका मृत्युसमेत बिस्तारै समाचारका हेडलाइनबाट हराइरहेका छन्, आर्थिक संकटका कारण भोकै मर्नेहरूका समाचारका त कुरै छाडौं । महामारीका कारण देशभित्र र बाहिर गुमेका रोजगारी अनि फेरि गरिबीको रेखामुनि धकेलिएका लाखौं नेपालीको पीडा कतै बहसको विषयसम्म छैन । अरू देशले केमा किफायत गरेर अर्थतन्त्र उकास्ने भनेर मन्थन गर्दा हाम्रो सरकारले देशलाई अस्थिरता र असमयको खर्चिलो चुनावमा धकेल्दै छ ।
यो सिलसिलालाई रोकेर देशलाई कम खराब अवस्थामा फर्काउने स्थानमा अब देशको सर्वोच्च अदालत मात्रै छ । न्यायालयसामुन्ने रहेको त्यस्तो जिम्मेवारी र न्यायाधीशहरूको अग्निपरीक्षाबारे चर्चा गर्नुअगाडि प्रधानमन्त्री ओलीकै छोटो चरित्र चित्रण गरौं ।

प्रधानमन्त्रीको बेग्लै संसार
देशकै कार्यकारी प्रमुख भएका नाताले कुनै पनि प्रधानमन्त्रीमाथि बाँकी नागरिकहरूको भन्दा बोझिलो जिम्मेवारी र जवाफदेही हुने गर्छ । त्यसैले नागरिकले प्रधानमन्त्री ओलीबाट पनि जिम्मेवारीअनुसारको व्यवहार अपेक्षा गर्नु र त्यसो नहुँदा आलोचना गर्नु स्वाभाविक हो । हामीले यसअगाडि नै उनको निर्णयक्षमता, अभिव्यक्ति र व्यवहारहरूबारे प्रश्न उठाएका थियौं । उनको स्वास्थ्य अवस्था र उपचारका दुष्प्रभावहरूको पृष्ठभूमिमा ती प्रश्न उठेका थिए । संसद् विघटन गरेर त्यसपछि ओलीले देखाइरहेका व्यवहारपछि त ती प्रश्न झनै सान्दर्भिक भएका छन् । सिंगो देश सञ्चालनको कार्यकारी भूमिकामा रहेकाले प्रधानमन्त्रीको स्वास्थ्य उनको निजी विषय मात्रै रहने गर्दैन । उनले देशलाई संवैधानिक संकटमा धकेलेसँगै हामीले पहिल्यैदेखि उठाउँदै आएका उनको स्वास्थ्य र कार्यक्षमतासम्बन्धी प्रश्नहरू गम्भीर र जायज थिए भन्ने पुष्टि भएको छ ।
अहिले नेकपाको ओली पक्षका धेरैले सुगाले झैं उनका दाबीहरू रटिरहेका छन् । कतिले त ओलीकै शैलीमा ‘स्ट्यान्डअप कमेडी’ को अभ्यास पनि गरिरहेका छन् । अरू कतिले गालीगलौजमा नयाँ कीर्तिमान बनाइरहेका छन् । यो सबै हेर्दा ओली एक्लै कसरी असामान्य अवस्थामा हुन सक्छन् भन्ने प्रश्न उठ्न सक्छ । तर ध्रुवीकरणको यो युगमा विचार र तर्कलाई अन्धभक्तिले जितिसकेको छ । अमेरिकाजस्तो परिपक्व लोकतन्त्रमा त पराजित राष्ट्रपतिका अन्धभक्तहरूले संसद् कब्जा गर्न सक्छन् भने, नेपालमा त्यस्तो भक्ति सर्वथा अनौठो कुरा हैन । अर्कातिर, क्षणिक भए पनि पदका लागि आत्मा बेच्नेहरूको होड लागेका बेला लाभको पदमा आसीन ओलीको होमा हो मिलाउनेहरू देखिनु अनौठो हैन ।
अहिले प्रधानमन्त्री र उनका समर्थकहरू विचरण गरिरहेको समानान्तर यथार्थमा संविधानले गरेको व्यवस्थाभन्दा प्रधानमन्त्रीको तजबिजी निर्णय माथि छ । संवैधानिक निकायहरूमा नियुक्ति लगायतका विषयहरू विवादित हुँदाहुँदै ती सही छन् किनकि ती ओलीले गरेका (वा गराएका) हुन् । पार्टीभित्रको विवाद मिलाउने प्रयास जस्ता राष्ट्रपतिले पछिल्ला वर्षमा निरन्तर खेलेको अशोभनीय भूमिका उचित छ किनकि त्यसले ओलीलाई फाइदा पुर्‍याएको छ । भोलि संकटकालजस्तो कुनै पनि कदम जायज हुनेछ किनकि त्यो ओलीले चालेको कदम हुनेछ ।

ब्रेक हान्ने आसनमा सर्वोच्च
गाडीमा एक्सलरेटरसँगै ब्रेक पनि राखिएजस्तै लोकतन्त्रमा कार्यकारीसँगै व्यवस्थापिका र न्यायपालिकाजस्ता राज्यका फरक अंगहरू पनि राखिएका हुन्छन् । राज्य सञ्चालन गरेर त्यसलाई अगाडि बढाउने काम कार्यकारीको हो । त्यसका लागि कानुनी मार्ग तय गरेर निरन्तर सरकारलाई जवाफदेह बनाइरहने काम व्यवस्थापिकाको हो । अनि राज्यको बाँकी कुनै पनि अंगले बाटो बिराएको अवस्थामा त्यसलाई सही मार्गमा ल्याउने र दोषीलाई दण्डित गर्ने काम न्यायपालिकाको हो । राज्यका मुख्य अंगहरूबीचको यस्तो सन्तुलन र शक्ति पृथकीकरण लोकतान्त्रिक व्यवस्थाको मुटु हो ।
संसद् विघटनसँगै प्रधानमन्त्री ओलीले व्यवस्थापिकाको मार्गदर्शन र जवाफदेही दुवै पन्छाइसकेका छन् । अब उनले आँखा चिम्लेर कुदाइरहेको गाडीमा इमर्जेन्सी ब्रेक दबाउने भूमिकामा छ सर्वोच्च अदालत ।
न्याय सम्पादनमा संविधान सर्वोपरि हुन्छ । त्यसैले सर्वोच्चले नेपालको संविधान टेकेरै यो विवादको निरूपण गर्नेछ । तर सरल सत्य के हो भने, न्याय दिने ठाउँमा बसेको मानिसको धरातलचाहिँ उसको आफ्नो इमान हुन्छ । त्यो धरातलमा उभिएर मात्रै मानिसले न्याय र अन्याय छुट्याउन सक्छ । अहिले सर्वोच्च अदालतमा चलिरहेको संसद् विघटनसम्बन्धी मुद्दामा न्यायाधीशहरूको संविधानका प्रावधान खुट्याउने क्षमता मात्रै हैन, आधारभूत नैतिकता र इमानसमेत अग्निपरीक्षामा छ । त्यो अग्निपरीक्षामा न्यायालय खरो उत्रियो भने नेपालमा लोकतान्त्रिक अभ्यासको तेस्रो चरण धरमराउँदै भए पनि सही मार्गमा चल्नेछ ।
त्यसो हुँदा फेरि एकपल्ट शासन सञ्चालनमा व्यक्ति नभई संस्थाहरू र संविधानप्रधान हुनेछन् । व्यक्ति वा पार्टीका गल्तीहरूको भागीदार संविधान र व्यवस्थालाई बनाउने काम रोकिनेछ र भविष्यका लागि उपयुक्त नजिर बस्नेछ । विधिको शासन पुनःस्थापना गर्ने यस्तो अवसर विद्वान् न्यायाधीशहरूका हातबाट गुम्नेछैन भन्ने हाम्रो विश्वास छ ।

विधि बसाल्ने कार्यभार
संविधानमाथिको आक्रमणका लागि प्रधानमन्त्री ओलीलाई जवाफदेह बनाउनासाथ देशका सबै समस्या समाधानचाहिँ हुनेछैनन् । सत्तास्वार्थ नमिलेका कारण अहिले धेरै थरीले ओलीको विरोध गरे पनि गएका वर्षहरूमा देशमा संविधानभन्दा माथि ओलीतन्त्रलाई स्थापित गर्न सत्तारूढ नेकपाका सबै नेता जिम्मेवार छन् । त्यसैले सच्चिने र जवाफदेह हुने पालो अब ओलीको मात्रै नभई सबैको हो । ओलीतन्त्र एक रातमा स्थापित नभएकाले एक रातमै बिदा पनि हुनेछैन ।
ओलीतन्त्रलाई विस्थापित गरेर विधिको शासन बसाल्न अख्तियार र न्यायालयजस्ता निकायहरूले वास्तवमै आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्नेछ । वाइडबडी काण्डदेखि बालुवाटार जग्गा काण्ड, दरबारमार्ग जग्गा काण्डदेखि गोकर्ण रिसोर्ट काण्ड, सेक्युरिटी प्रेस काण्डदेखि आयल निगमको जग्गा खरिद काण्डसम्म, जति पनि भ्रष्टाचारका ठूला प्रकरणहरू छन्, ती सबैमाथि अख्तियारले इमानदार छानबिन र कारबाही गर्नुपर्छ । अख्तियारका आयुक्तहरूले भ्रष्ट नेताहरूका अगाडि भिजेको मुसाजस्तो व्यवहार गर्न बन्द गर्नुपर्छ । आयुक्तहरूले आफूलाई नियुक्तिको भागबन्डामा पार्ने दलका भ्रष्ट नेताहरूको संरक्षण मात्र गर्ने हो भने अब उनीहरू नै दण्डित हुनुपर्छ । खास गरी सत्तारूढ दलका नेताहरू आफैंले यस्ता भ्रष्टाचार काण्डहरूबारे बोलिरहँदा अख्तियार हात बाँधेर बस्ने अहिलेको लज्जास्पद अवस्थाको तत्काल अन्त हुनुपर्छ ।
अख्तियारले आफ्नो काम गर्न थालेसँगै न्यायालयले उत्तिकै तदारुकताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । न्याय सम्पादनबाहेक न्यायाधीशले अरू महत्त्वाकांक्षा राख्नु हुँदैन । फैसला दिनुअगाडि अपराधीको दलीय रङ र पदीय उचाइ हेर्ने काम बन्द हुनुपर्छ । इमानको धरातलमा टेकेर फैसला गर्न सक्यो भने मात्रै ती फैसलाले सबैलाई न्याय दिन सक्छन् ।
न्यायालयसहित राज्यका सबै अंगका मानिसहरूले के बुझून् भने, लोकतान्त्रिक व्यवस्थामा सार्वभौमसत्ता नागरिकमा हुन्छ । राज्यको जुनसुकै पदमा बस्नेहरूले बाटो बिराए भने तिनलाई दण्डित गर्ने र सही ठाउँमा ल्याउने जिम्मेवारी पनि अन्ततः नागरिककै हुन्छ । सबैलाई यति हेक्का रहोस्— हामी नागरिकले सबैका वचन र कर्मलाई नजिकबाट नियालिरहेका छौं र नागरिक जवाफदेहीबाट पर कोही छैन ।

Page 8
विदेश

बेपत्ता विमानको ब्ल्याक बक्स भएको ठाउँ पत्ता लाग्यो

- कान्तिपुर संवाददाता


जकार्ता (एजेन्सी)– इन्डोनेसियाली अधिकारीहरूले समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको बताएका छन् । यसअघि जलसेनाले उक्त विमान हराएको ठानिएको स्थान पत्ता लगाएको जनाएको थियो ।
श्रीविजय एयरजेटको बोइङ ७३७ विमान शनिबार दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६२ जना थिए । कालिमान्तान प्रान्तस्थित पोन्तियानकका लागि उडेको विमान चार मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित करिब एक दर्जन पानीजहाज परिचालन गरिएको थियो । विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् । उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजय एयरको भनिएको भग्नावशेष सम्हालेर राखेका जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार बिहानैबाट खोजी र उद्धारका प्रयास भइरहेका छन् ।
विमानको भग्नावशेषजस्ता देखिने सामग्रीहरू समुद्रमा फेला परेका जनाइएको छ । ‘हामीले दुई ठाउँमा संकेत प्राप्त गरेका छौं । त्यो ब्ल्याक बक्स हुन सक्छ,’ खोजी तथा उद्धार निकाय प्रमुखले भनेका छन् । अनुसन्धानकर्ताहरूले एउटा पाङ्ग्रा र विमानको मध्यभागका केही टुक्राहरूको भेटिएको जनाउँदै त्यसको विश्लेषण गरिरहेको बीबीसीले उल्लेख गरेको छ । ‘त्यस्तै उक्त क्षेत्रमा भेटिएका विभिन्न सामग्री राखिएका दुइटा झोला खोज तथा अनुसन्धान निकायले जकार्ता प्रहरीलाई दिएको प्रवक्ता युस्री युनुसले बताए । ‘एउटा झोलामा यात्रुहरूका सामान र अर्कोमा शरीरका केही अंग छन्,’ उनले भने । श्रीविजया एयरको विमान जकार्ता विमानस्थलबाट शनिबार दिउँसो उडेको ४ मिनेटमै सम्पर्कविहीन भएको थियो । राष्ट्रिय खोजी तथा उद्धार निकायका एक वरिष्ठ अधिकारीका अनुसार विमानले कुनै आपत् परेको सूचित गरेको थियो । प्रत्यक्षदर्शीहरूले सामुद्रिक क्षेत्रमा एक विस्फोट देखिएको र त्यसको केही आवाजसमेत आएको बताएका थिए ।
विमान हराएको क्षेत्रनजिकै बस्ने स्थानीयले केही सामग्री फेला पारेको र त्यो विमानको भएको हुन सक्ने जनाए ।

विदेश

अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

नर्सिङ, अपांगता र कृषि क्षेत्रमा काम गरिरहेका विद्यार्थीले ‘फुलटाइम’ काम गर्न पाउने
- नारायण खड्का

(अस्ट्रेलिया) - अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ । अध्यागमन विभागका अनुसार यो प्रावधान अस्थायी रूपमा केही महत्त्वपूर्ण क्षेत्रमा मात्र लागू हुनेछ ।
अस्ट्रेलियाली गृहमन्त्रालयले एक सूचना जारी गर्दै वर्तमान कठिन अवस्थामा स्वास्थ्य, कृषिलगायतका अत्यन्तै जरुरी सेवामा आवश्यक जनशक्ति पूरा गर्न यो निर्णय लिइएको जनाएको छ । सूचनामा मन्त्रालयले तत्कालका लागि दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने अधिकार बढाइएको बताएको छ । कानुनतः अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउँछन् । यदि सरकारले दिएको अधिकारभन्दा बढी काम गरेको पाइएमा भिसा रद्दसम्मको सजायको व्यवस्था छ ।
सरकारका अनुसार यहाँ रहेका नर्सिङ होम तथा स्वास्थ्य क्षेत्रमा केयरिङ, नर्सिङलगायत काम गर्नेहरूलाई यो अधिकार प्रदान गरिएको छ । यसैगरी, अशक्त तथा अपांग नागरिकको रेखदेख र हेरचाह गर्ने काम गरिरहेका विदेशी विद्यार्थीले समेत यो सुविधा पाएका हुन् । यद्यपि यसका लागि सरकारको आधिकारिक निकायमा दर्ता भएको संस्थामा कार्यरत रहेको भने हुनुपर्नेछ । स्वास्थ्यसँग सम्बन्धित विषय अध्ययन गरिरहेका र स्वास्थ्य अधिकारीको निर्देशनअनुसार कोभिड–१९ को नियन्त्रणका क्षेत्रमा काम गरिरहेका विद्यार्थीलाई पनि यो सुविधा प्राप्त हुनेछ । सरकारले कृषि क्षेत्रमा काम गरिरहेका विदेशी विद्यार्थीलाई समेत दुई साताको ४० घण्टाभन्दा बढी काम गर्न दिने निर्णय गरेको छ ।
विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेकाका अनुसार यसले विद्यार्थीलाई अहिलेको कठिन अवस्थामा आर्थिक रूपमा ठूलो राहत दिएको छ । यसले मुख्य गरेर नर्सिङ, अपांगता र कृषि क्षेत्रमा काम गरिरहेका विद्यार्थीलाई मात्र लक्षित गरेका कारण सबै विद्यार्थीले यसको लाभ लिन भने सक्ने छैनन् । आधा दशकदेखि सिड्नीमा रहेर विद्यार्थी परामर्शको काम गरिरहेका अर्जुन थपलिया सरकारको यो निर्णय कम्तीमा एक वर्षसम्म रहने अनुमान गर्छन् । ‘कोरोनाका कारण अहिले नयाँ विद्यार्थी आउन नपाएका कारणसमेत यी क्षेत्रमा भएका जनशक्ति अभावलाई कम गर्न सरकारले यो निर्णय गरेको हो,’ थपलियाले भने । सरकारको यो निर्णयले आफूहरूलाई ठूलो राहत दिएको विद्यार्थीहरूको भनाइ छ । दुई वर्षदेखि सिड्नीस्थित एक नर्सिङ होममा केयररका रूपमा कामसमेत गरिरहेकी नेपाली विद्यार्थी अञ्जु बस्नेत कठिन अवस्थामा यसले आर्थिक रूपमा ठूलो सहयोग गरेको बताउँछिन् । ‘अब फुलटाइम काम गर्न पाउने भएपछि पैसा पनि राम्रो कमाउन सकिन्छ भने विश्वविद्यालयको शुल्क तिर्नसमेत घरमा भनिरहन पर्दैन,’ उनले भनिन् । कोरोना भाइरसका कारण काम गुमाएका कारण हजारौं नेपालीसहित विदेशी विद्यार्थीलाई आर्थिक समस्या देखिएको छ । सरकारले यो प्रावधान कहिले समाप्त हुन्छ भन्नेबारेमा केही खुलस्त नपारे पनि क्रमिक रूपमा यसको समीक्षा गरेर निर्णय गरिने बताएको छ । त्यसका साथै कामसम्बन्धी परिवर्तित प्रावधानका लागि कुनै सरकारी निकायमा आवेदन दिन नपर्ने उल्लेख गरेको छ ।

Page 9
अर्थ वाणिज्य

सेबोनको हस्तक्षेपले नेप्सेले तथ्यांक बेच्न पाएन

तथ्यांक प्रयोगकर्ताबाट मनपरी शुल्क उठाउन लागेको भन्दै सेबोनले स्पष्टीकरण सोधेपछि नेप्सेले कार्यविधि लागू गर्न सकेन
- यज्ञ बञ्जाडे

(काठमाडौं) - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हस्तक्षेप गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथ्यांक उपयोग (बिक्री) सम्बन्धी कार्यविधि लागू गर्नबाट पछि हटेको छ । तथ्यांक प्रयोगकर्ताबाट मनपरी शुल्क उठाउन लागेको भन्दै सेबोनले स्पष्टीकरण सोधेपछि नेप्सेले कार्यविधि लागू गर्न नसकेको हो । योसँगै तत्कालका लागि सेवाग्राहीले नेप्सेको तथ्यांक उपयोगबापतको शुल्क तिर्नु नपर्ने भएको छ ।
नेप्सेले यही पुस १० मा सूचना जारी गरी ‘नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७’ लागू भएको जानकारी गराएको थियो । कार्यविधिमा नेप्सेको तथ्यांक उपयोग/प्रयोग गर्न निश्चित मापदण्डसहित आवेदन दिनुपर्ने र तथ्यांक उपयोग गरेबापत शुल्क तिर्नुपर्ने प्रवाधान छ । तथ्यांक उपयोगका आधारमा इन्भेस्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यम, व्यापारिक, शैक्षिक तथा अनुसन्धानात्मक संस्थालगायतले नेप्सेको तथ्यांक प्रयोग गर्न पाउनेछन् । त्यसका लागि नेप्सेलाई मासिक रूपमा शुल्क तिर्नुपर्नेछ । संघसंस्था र सञ्चार माध्यम वा अन्यको प्रयोजनअनुसार नेप्सेले बेग्लाबेग्लै शुल्क निर्धारण गरेको छ । फरकफरक प्रयोजनका लागि प्रयोगकर्ताले मासिक १ सयदेखि १ लाख रुपैयाँसम्म शुल्क तिर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।
नेप्सेले सेवाग्राहीबाट मनपरी तथ्यांक असुल्न लागेपछि स्पष्टीकरण सोधिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘नियामक निकायको अनुमति नलिई नेप्सेले शुल्क तोक्न पाउँदैन,’ उनले भने, ‘के कारणले शुल्क तोकिएको हो, त्यस विषयमा स्पष्टीकरण सोधिएको हो ।’ स्पष्टीकरणमा शुल्क नतोक्नु भनेर हस्तक्षेप गरेको नभई किन त्यति धेरै शुल्क तोकिएको र नियामक निकायलाई जानकारी दिइएन भन्ने विषयको जवाफ मागिएको उनले बताए । ‘नेप्सेले धितोपत्र बोर्डको सिफारिसमा मात्रै कुनै विषयमा शुल्क तोक्न पाउँछ,’ उनले भने, ‘मनपरी शुल्क तोक्ने अधिकार उसलाई छैन ।’
सेबोनले स्पष्टीकरण सोधेपछि नेप्सेले अझै कार्यविधि लागू गर्न सकेको छैन । सूचनामा पुस १ देखि कार्यविधि लागू भएको जानकारी गराइएको थियो । तथ्यांक उपयोग गर्न चाहने सेवाग्राहीले कार्यविधिमा उल्लिखित व्यवस्थाअनुसार आवेदन दिन सूचनामा आग्रह गरिएको थियो । सोही आधारमा आवेदन दिन केही सेवाग्राही नेप्सेमा आएका पनि थिए । तर नेप्सेले आफ्नै सञ्चालक समितिको निर्णयविपरीत कार्यविधि लागू गर्न सकेको छैन । यसअघि वेबसाइटमा राखिएको सूचना र कार्यविधि पनि अहिले हटाइएको छ । कार्यविधि लागू गर्ने सम्बन्धमा के भइरहेको छ भन्ने जिज्ञासामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रप्रकाश साउदले भने, ‘सुझावका लागि कार्यविधि धितोपत्र बोर्ड पठाएका छौं । सेयर लगानीकर्ता र ब्रोकरसँग सम्बद्धबाहेक विषयमा निर्णय गर्दा बोर्डको राय लिनुपर्ने व्यवस्था त छैन । तर पनि पठाएका छौं ।’
स्रोतका अनुसार यो विषय सेबोन र नेप्सेबीचको जुँगाको लडाइँ हो । समयसमयमा सेबोनले नेप्सेका क्रियाकलापमाथि ‘माइक्रो म्यानेजमेन्ट’ गरेको आरोप लाग्दै आएको छ । यो पनि त्यसकै परिणाम भएको स्रोतको दाबी छ । ‘नेप्सेले पनि मनपरी महँगो शुल्क तोक्नु हुँदैनथ्यो, औचित्यका आधारमा शुल्क तोकिनुपर्थ्यो,’ स्रोतले भन्यो, ‘नेप्सेले मनपरी गर्न थाल्यो अनि सेबोनले मौका पाइहाल्यो ।’ यही मौकामा नेप्सेले तयार पारेको सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेको मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रणालीसम्बन्धी कार्यविधि पनि सेबोनले झिकाएको छ । सो कार्यविधि पनि सेबोनलाई पठाउनुपर्ने बाध्यात्मक व्यवस्था छैन । कार्यविधिमा सबै ब्रोकरले एउटै कम्पनीबाट खरिद गर्न नपाउनेलगायत व्यवस्था गरिएको छ । ती व्यवस्थामा सेबोनलाई सुरुदेखि नै चित्त बुझेको थिएन । सोही कारण कार्यविधि लागू गर्नुपूर्व हस्तक्षेप गरेको स्रोतको दाबी छ ।
हाल इन्भेस्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यम, व्यापारिक, शैक्षिक तथा अनुसन्धानात्मक संस्थालगायतले निःशुल्क रूपमा नेप्सेको तथ्यांक प्रयोग गर्दै आएका छन् । एकै पटक धेरै ठाउँबाट ‘सर्च’ गर्दा नेप्सेको वेबसाइटमा पनि पटकपटक समस्या आउने गरेको छ । ती समस्या नियन्त्रणका लागि पनि तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि जारी गरिएको नेप्सेको दाबी छ ।

अर्थ वाणिज्य

‘पूर्वाधार र गुणस्तरीय इन्धन आपूर्तिमा आयल निगमको जोड’

निगमले माग हेरेर इन्धन भण्डारणलाई पनि प्राथमिकता दिएको बताएको छ
- कान्तिपुर संवाददाता

(काठमाडौं) - नेपाल आयल निगम आफ्नो सेवाको ५० वर्ष पूरा गरी ५१औं वर्षमा प्रवेश गरेको छ । पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार प्राप्त नाफामूलक व्यावसायिक यो संस्थाले गुणस्तरीय पेट्रोलियम पदार्थको आपूर्तिमा जोड दिइएको जनाएको छ । मागलाई दृष्टिगत गरी इन्धन भण्डारण र भौतिक पूर्वाधार निर्माण पनि प्राथमिकतामा राखिएको निगमको भनाइ छ ।
‘नेपाली जनताको जीवन सहज बनाउनु निगमको प्रमुख लक्ष्य हो । पूर्वाधारमा भइरहेको तीव्र विकासले पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अंकका दरले बढिरहेको छ । माग र आपूर्तिबीच तालमेल कायम गर्न सञ्चयका लागि भण्डारण विस्तार तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्दै जाने नीति लिएका छौं,’ आइतबार ५१औं वार्षिकोत्सव कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने । निगमले गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नम्बर प्रादेशिक कार्यालय अमलेखगन्जमा भण्डारण गृह निर्माण गरिरहेको छ । झापा एवं धनुषामा ग्याास बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगन्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगन्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धि गर्न जग्गा प्राप्तिजस्ता काम सुरु गरिएको पौडेलले जानकारी दिए । सञ्चालनमा रहेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोलसमेत आयात गर्ने प्रक्रिया थालिएको उनले बताए । प्रविधिमैत्री कार्यप्रणालीको विकासमा जोड दिइएको, कागजविहीन कार्यालय सञ्चालन, प्रत्यक्ष गुनासो व्यवस्थापन, कार्यप्रणालीमा पारदर्शिता र सूचनामा सरोकारवालाको पहुँच अभिवृद्धि गर्दै सुशासन कायम गर्ने प्रयास पनि गरिएको पौडेलले जनाए । मेकानिकल लकिङबाट डिजिटल लकिङ,
ट्यांक–ट्रकहरूको नियमित अनुगमन र डिलरहरूको डिजिटल नक्सांकन गर्ने काम सुरु गरिएको उनले बताए ।

कमिसन नबढाए इन्धनमा प्रतिलिटर ५० पैसा बढाउने चेतावनी
यसैबीच पेट्रोलियम व्यवसायीलले पेट्रोलियम पदार्थको कारोबार गरेबापत पाइने कमिसन बढाउन माग गरेका छन् । लागत खर्च, व्यवसाय सञ्चालन खर्च, कानुनअनुसार व्यवस्था गरिएको मजदुरको सेवासुविधा खर्च र हालको मुद्रास्फीतिलगायतलाई दृष्टिगत गरी व्यवसायीको नाफा बढाउन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले माग गरेको हो ।
पूर्वाधार स्तरोन्नति खर्च, बैंक ब्याजदर एवं राजस्वका दरहरूलाई हेर्दै औसत कमिसन पेट्रोलमा ३ दशमवल ३९ प्रतिशत र डिजेलमा ३ दशमलव १२ प्रतिशत उपलब्ध गराउनुपर्ने एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले कमिसन नबढाए माघ १ देखि बिक्री मूल्यमा प्रतिलिटर ५० पैसाका दरले बढाएर लिने चेतावनीसमेत एसोसिएसनको छ । ‘तीन वर्षअघि विज्ञ समूहले अध्ययन गरेर गरेको सिफारिसअनुसार निगमले व्यवसायीको कमिसन थप नगरेको र पछिल्लो समय कोभिड–१९ का कारण व्यवसाय थप धराशायी भएको छ । तीन वर्षपहिले नै सिफारिस उक्त प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ । उपभोक्तालाई थप भार नपर्ने गरी निगमको सञ्चित कोषबाट व्यवस्थापन गर्दै शीघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘माघ १ सम्म माग पूरा नभए व्यवसायीले साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ५० पैसाका दरले बढाएर बिक्री गर्ने जानकारी गराउँछौं ।’
यसैबीच निगमको वार्षिकोत्सवका अवसरमा इन्जिनियर प्रदीप यादव ‘सुवर्णशमशेर पुरस्कार’बाट सम्मानित भएका छन् । उनले निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगन्जमा रहेर समयअगावै मोतीहारी–अमलखेगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अर्थ वाणिज्य

विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न चेतावनी

क्लिन फिड लागू भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँदैनन्
- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारबाहीको चेतावनी दिएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार गत कात्तिक ७ देखि नेपालमा क्लिन फिड नीति लागू भएको हो । यो नीति कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँदैनन् । ऐनमा विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित प्रसारण गर्न अनुगमन गर्न र नेपाली विज्ञापनको नियमन गर्न विज्ञापन बोर्ड स्थापना गर्ने उल्लेख छ । ऐनमा उल्लेख भएअनुसार सरकारले कात्तिक ७ अघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव दिल्ली शर्माको अध्यक्षमा विज्ञापन बोर्ड गठन गरिसकेको छ । बोर्डमा प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त नहुन्जेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवलाई अध्यक्षको जिम्मेवारी दिन सकिने प्रावधान विज्ञापन नियमावली २०७७ मा उल्लेख छ । ‘नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने र विदेशी विज्ञापनलाई नेपाली सञ्चार माध्यममा प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानुनी व्यवस्था छ,’ विज्ञापन बोर्डले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘उक्त कानुनी व्यवस्थाविपरीत यदाकता प्रसारण भइरहेको भन्ने गुनासो सुनिएकाले कानुनी व्यवस्थाविपरीत प्रसारण नगर्न नगराउन सम्बद्ध सबैमा ध्यानाकर्षण गराइसकेको छ ।’
सरकारले विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भए नभएको विषयमा अनुगमन गर्न सूचना तथा प्रसारण विभागअन्तर्गत अनुगमन समिति गठन गरेको छ । विभागका तीन जना कर्मचारी खटाएर विदेशी च्यानलको अनुगमन गरिए पनि प्रभावकारी नभएको केबल व्यवसायीहरू बताउँछन् । विज्ञापनरहित नीति लागू भएसँगै नेपालमा प्रसारण भइरहेका कतिपय टेलिभिजन च्यानलको प्रसारण बन्द भएको छ । कतिपयले भने बेलाबेला विज्ञापन बजाउने गरेको गुनासो उपभोक्ताको छ ।
ऐनमा विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी नेपाली सञ्चार माध्यममा प्रसारण गर्न नपाइने व्यवस्था भए पनि अझै पनि केही विज्ञापन डबिङ गरी बज्ने गरेको गुनासो आएपछि बोर्डले सूचना निकालेरै सचेत गराएको हो । सरकारले नेपाली विज्ञापन बजारको आकार बढ्ने र नेपाली कलाकारका लागि रोजगारी सिर्जना हुने भन्दै विदेशी टेलिभिजनमा विज्ञापनरहित प्रसारण गर्नुपर्ने गरी कानुन ल्याएको थियो ।

Page 10
अर्थ वाणिज्य

नेप्सेमा फेरि नयाँ रेकर्ड

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ४१.२४ अंकले बढेर २ हजार २ सय ३५.७२ विन्दुमा उक्लेको छ । यो हालसम्मको उच्च हो । यही पुस २० मा नेप्से परिसूचक यसअघिको उच्च २ हजार १ सय ८१.५३ विन्दुमा थियो । सो दिन कारोबारमा आएकामध्ये जीवन बिमाबाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । लकडाउनपछि खुलेको बजारले पटकपकट नयाँ रेकर्ड बनाउँदै आएको छ । सोही क्रममा आइतबार नेप्से हालसम्मकै उच्च विन्दु (करिब साढे २२ सय नजिक) पुगेको हो । आइतबार करिब ५७ हजार कारोबारबाट २ सय ६ वटा कम्पनीका १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता सेयर किनबेच भए । सो किनबेचबाट ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको कारोबार रकम यही पुस १९ यताकै उच्च हो । पुस १९ मा ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक उच्च अंकले बढेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि अघिल्लो कारोबार दिनको तुलनामा करिब साढे ५५ अर्ब रुपैयाँले बढेर ३० खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च हो । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.७१ प्रतिशत बढ्यो । यस्तै व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक २.३९ प्रतिशत बढ्यो ।
सो दिन विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ३.९८ प्रतिशतले बढ्यो । बैंकिङ समूहको परिसूचक ३.५९, व्यापारको ३.१७, वित्त कम्पनीको २.१५ र जलविद्युत्को १ प्रतिशतले बढे । यस्तै निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामूहिक लगानी कोष, जीवन बिमालगायत समूहको १ प्रतिशतभन्दा कमले बढे ।

अर्थ वाणिज्य

जयसपुरमा आईसीपी निर्माणको काम तीव्र

दुई मुलुकका अधिकारी सम्मिलित बैठकले दुई वर्षभित्रै काम सक्ने प्रतिबद्धता जनाएपछि निर्माणले तीव्रता पाएको हो
- कान्तिपुर संवाददाता

(नेपालगन्ज) - नेपालगन्जको जयसपुरमा निर्माणाधीन एकीकृत सुरक्षा जाँच (आईसीपी) निर्माणको कामले तीव्रता पाएको छ । पछिल्लो समय दुई मुलुकका अधिकारीको जुम बैठकमा दुई वर्षभित्रै काम गरिसक्ने प्रतिबद्धता जनाएपछि निर्माणको कामले तीव्रता पाएको हो ।
आईसीपीको भवन निर्माणका लागि जग खन्ने र माटो पटानको काम धमाधम भइरहेको छ । सवारी साधन आउजाउ सहजताका लागि ६ लेनको सडक विस्तारको काम अगाडि बढेको हो । उक्त आयोजना ढेड दशकअघि नै सुरु गरिएको थियो । तर भारतीय पक्षले चासो नदिँदा निर्माणको काम अलपत्र पर्दै आएको थियो ।
आईसीपी निर्माणका लागि पछिल्लो समय मन्त्रालयले निकै चासोका साथ हेरिरहेको सहरी तथा भवन डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले बताए । मन्त्रालयको निर्देशनअनुसार निर्माणका लागि भारतबाट आउने सामग्री र सवारी साधनको भन्सार छुट गराएको उनको भनाइ छ । ‘मन्त्रालयबाट दैनिकजसो निर्माणको काम के भयो भनेर चासो व्यक्त भइरहेको छ । यसले पनि निर्माणको कामले गति पाएको हो,’ उनले भने, ‘हामीले समन्वय मात्रै गर्ने हो । ठेक्का भारतीय पक्षबाटै भयो । काम पनि उतैबाट भइरहेको छ ।’
कोरोनाको महामारीमा भौतिक उपस्थिति हुन नसकेपछि नेपालका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्यमन्त्री पियूष गोयलले जुममार्फत औपचारिक रूपमा काम सुरु भएको घोषणा गरेका थिए ।
समयमै काम पूरा भए बाँकेले दुई वर्षभित्रै आईसीपी पाउनेछ । उक्त आयोजनाका लागि भारतले १ अर्ब ४७ करोड लगानी गर्नेछ । नेपालले ८७ बिघा र भारतले पनि त्यति नै जग्गा नेपाल भारत सीमामा अधिग्रहण गरी
छुट्याएका छन् ।
आईसीपीमा प्रवेशका लागि ६० मिटर चौडाइको २ हजार २ सय मिटर सडक विस्तारको काम अन्तिम चरणमा छ । उक्त पहुँच राजमार्ग ६४ मिटर चौडा छ । दुई वर्षमा निर्माण गरी उक्त आयोजनालाई भारतले नेपाललाई हस्तान्तरण गर्नेछ । नेपालगन्ज नाकामा आईसीपी निर्माणका लागि भारतीय पक्षले नेपाल–भारत सीमा जयसपुर क्षेत्रमा काँडे तारबार गरेको थियो । त्यसबाहेक नेपालका तर्फबाट आईपीसी निर्माण स्थल सुरक्षाका लागि प्रहरी निरीक्षकको कमान्डमा ६० जना सशस्त्र प्रहरी तैनाथ गरिएका छन् । आईपीसीसम्म पुग्न रेलवे सेवा विस्तार गरिने लक्ष्य छ ।
भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगन्जमा सुक्खा बन्दरगाह आवश्यक रहेको भन्दै जयसपुरलाई रोजिएको हो ।
बन्दरगाह सञ्चालन भए भारतबाट विभिन्न सामग्री नेपालमा सहजै आयात हुने र नेपालका जडीबुटीलगायत उत्पादन भारतमा निकासी गर्न पनि सरल हुने जनाइएको छ । हाल आईसीपी नहुँदा नेपालगन्ज भन्सारदेखि नेपालगन्जसम्म १० स्थानमा हुने सुरक्षा जाँचले सर्वसाधारण र व्यवसायी हैरान हुने गरेका छन् ।

अर्थ वाणिज्य

सुनचाँदी व्यवसायी महासंघमा सबै निर्विरोध

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनले माणिकरत्न शाक्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । महासंघको विधानमा ५५ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएअनुरूप सबै पदमा निर्विरोध भएका हुन् ।
आइतबार सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरूमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपीन रामुदामु चुनिएका छन् । एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा, सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् । यसैगरी प्रवक्तामा मनोजकुमार शाह चुनिएका छन् । साधारणसभाले विधान संशोधन गरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न व्यक्तिलाई चयन गर्ने निर्णयसमेत गरेको छ । प्रस्तावित उपाध्यक्षहरूमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गाबहादुर सुनार, महेन्द्ररत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल छन् । प्रस्तावित सचिवमा केशवहादुर सुनार तथा सहकोषध्यक्षमा रमेश रसाइली छन् । महाधिवेशनका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसमक्ष व्यवसायीले सुन आयातको कोटा बढाउन आग्रह गरेका थिए । विदेशी विनिमय सञ्चिति गर्ने नाममा कोटा घटाउँदा व्यवसायी पसल बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको
भनाइ थियो ।

अर्थ वाणिज्य

खाद्यले किन्यो १६ हजार क्विन्टल धान

- कान्तिपुर संवाददाता


पर्सा (कास)– खरिद सुरु गरेको डेढ महिनामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जले १६ हजार क्विन्टल धान किनेको छ । शुक्रबारसम्म १६ हजार १ सय ९० क्विन्टल सोना मन्सुली र १ सय ५ क्विन्टल ३० किलो जिरा मसिनो धान खरिद भइसकेको सूचना अधिकृत मुनिलाल कुशवाहले जानकारी दिए ।
कार्यालयले मंसिर ११ बाट धान खरिद सुरु गरेको थियो । हाल पर्सा र बारा दुवै जिल्लाका किसानले धान बिक्री गर्न ल्याइरहेको उनले बताए । यस वर्ष ३० हजार क्विन्टल सोना मन्सुली र पाँच हजार क्विन्टल जिरा मसिनो गरी कार्यालयले ३५ हजार क्विन्टल धान खरिदको कोटा पाएकामा जिरा मसिनोको लक्ष्य आधाभन्दा बढी पूरा भइसकेको कुशवाहको भनाइ छ ।
माघसम्म धान खरिद गरिने भएकाले यस वर्ष धान खरिदको लक्ष्य सहजै भेटाइने उनको दाबी छ । छोटो अवधिमै लक्ष्य पूरा भए केन्द्रले कोटा थप्न पनि सक्ने सम्भावना रहेको उनले बताए ।

Page 11
कला र शैली

६० वर्ष नाघेपछि संस्कृति सोख

जीवनका ऊर्जाशील समय परिवारको लालनपालनलाई खर्चेकाहरुको फुर्सदिलो उमेर परम्परागत बाजा र नाचगानमा
- मधु शाही

(बाँके) - फित्ते चप्पल । शिरमा ढाका छोपी र फाटेको दौरा । प्रेमबहादुर रानाक्षत्री पाँच दशकअघि जन्मथलो सुर्खेत छाडेर तराई झर्दा यस्तै हुलियामा थिए । राजा महेन्द्रले बाँके र बर्दियामा पुनर्वास बसाउने योजना ल्याएको उनले आफन्तबाट सुनेपछि भर्खरै जंगल फाँडेर थातबास राख्ने हेतुले एकसरो लुगामा परिवारलाई थाहै नदिई बाँके आएका थिए । तर, पुनर्वासको जग्गा पाउन २२ वर्ष उमेर पुगेको हुनुपर्ने थियो । उनले आफन्तकै सल्लाहमा उमेर बढाएर हालको खजुरा गाउँपालिका–२ गौघाटमा चार बिघा जमिन पाए । ‘नयाँ ठाउँमा राजाले बस्न त भने,’ ६५ वर्षीय प्रेमबहादुरले नोस्टाल्जिक हुँदै भने, ‘घर यता छ तर मन
उतै हुन्थ्यो ।’
जन्मथलो छाडेर नयाँ समाज निर्माण गर्न सजिलो पक्कै थिएन । फुसको झुप्रोभित्र उनले बिस्तारै भाँडाकुँडा जोडे । एक जोडी बस्तुभाउ पाले । खेतीपाती सुरु गरे । जंगलको मुखमा उराठलाग्दो बस्ती । उनको बसाइ पनि तरकारीमा नुन नपुगेझैं विरसिलो थियो । प्रेमले जन्मथलोदेखि ल्याएको एउटा अमूल्य गहना थियो, संस्कृति । जुन उनले चाहेर पनि पोख्ने थलो पाएका थिएनन् ।
चाडपर्वमा नाचगान गर्ने, पञ्चेबाजा बजाउने, मादल ठोक्नेजस्ता गतिविधि नयाँ बस्तीमा थिएन । प्रेमका अनुसार २०२७ सालमा १ सय ३ घर पुनर्वासमा आएका थिए । जसमध्ये अधिकांश सुर्खेतका हुन् । प्रेमले अनुभव गरेको संस्कृतिबिनाको बिरानोपन अरू छिमेकीले पनि महसुस गरेका रहेछन् । टोलका भीमबहादुर खत्री, नन्दबहादुर खत्री, रघुसिंह ठकुरी, फौदबहादुर ओलीलगायत ६० नाघेका बूढापाका भेटघाट गर्न थाले । आफूले जेजति बाजा बजाउन जानेका छन्, घरघरै जम्मा भएर नाचगान गर्न सुरु गरे । चार वर्षअघिसम्म उनीहरू घरेलु भाँडाकुँडामै बाजा बजाएर रमाइलो गर्थे । गाउँको पूजाआजा, दसैं–तिहारमा यो टोली नाचगान गर्न पुगेकै हुन्थ्यो । पुराना सुर्खेतका कुटकुटे गाना, सिंगारु नाच सुनाउँदै हिँड्न थाले । खुसीले दक्षिणास्वरूप दिएको पैसा बटुलेर उनीहरूले बाजा किन्ने निधो गरे । दुई वर्षयता सिंगारु नाच संस्कृति संरक्षण समाज नामक संस्था गाउँपालिकामा दर्ता गराएर उनीहरू औपचारिक वाद्यवादक भएका हुन् ।
संस्थाका ७० वर्षे पाका अध्यक्ष हुन्, भीमबहादुर खत्री । उनी बाजा समूहका मुख्य वादक हुन् । अर्थात् ‘नाइके’ बाजा बजाउन उनी मात्रै सिपालु छन् । उनका अनुसार नाइके बाजाले नै अरू बाजालाई ताल दिने गर्छ । भीमले नाइके बाजा बजाउन कुनै तालिम लिएका होइनन् । सानैमा छिमेकीले बजाएको हेर्दाहेर्दै उनले सिकेका हुन् । ‘उतिबेला दमाईंले बजाउने बाजा छुनु हुँदैन भन्थे,’ उनले भने, ‘अहिले उनीहरूले छोडे, हामीले बजाउन थालेका छौं ।’ खजुरा आएपछि भीमले बाजा, नाचगान, संस्कृति र संस्कारको महत्त्व बुझेको बताए । त्यसैले उनकै अध्यक्षतामा समूह गठन गरी पुर्ख्यौली बाजा, संस्कृति संरक्षणमा लागेका हुन् । ५५ वर्षे नन्दबहादुर खत्री टेम्को बजाउँछन् । उनले टेम्को बजाउन सानैदेखि जानेका थिए । पहिला पहिला गाउँघरमा एक जातिविशेषले बजाएर रमाइलो गर्ने चलन थियो । तर, अहिले उनी आफैंले बजाउन सिकेको सुनाए । ‘आफैंले जानेपछि मान्छे खोज्दै हिँड्न परेन,’ उनले भने, ‘फेरि अचेल बजाउने पनि कहाँ पाइन्छन् र ?’
रघुसिंह ठकुरी स्कुलमा सहयोगीको काम गर्छन् । जागिरे जीवनदेखि फुर्सद मिलाएर उनी बाजा बजाउनमा रमाइलो मान्छन् । समूहमा सिंगारु नाच्न सिपालु मानिने उनी पुर्ख्यौली संस्कृति हराउन लागेकामा चिन्तित छन् । तैपनि गाउँका केही युवालाई बटुलेर पूजा, व्रतबन्ध, विवाह र सांस्कृतिक कार्यक्रममा लिएर हिँड्ने गरेको उनले सुनाए । ६० नाघेका फौदबहादुर वली गीत गाउन माहिर छन् । खासगरी सुदूरपश्चिममा प्रचलित कुटकुटे नाचको गाना गाउन उनलाई आउँछ । उनका अनुसार कुटकुटे गाना निकै पुरानो गायन संस्कृति हो । दसैं–तिहारमा टुक्का जुराएर सिंगारु नाच नाच्न यो गीत गाउने गरिन्छ । बाजा बजाउनुअघि भगवान्को आराधना गरी कुटकुटे गानाबाट प्रारम्भ हुने उनको बुझाइ छ । ‘बुढेसकालमा संस्कृति जोगाउने पिरलो छ,’ उनले भने ।

कला र शैली

‘जुन फूल मैले चाहेको थिएँ...’

आफ्ना सिर्जनाले चर्चा नपाउँदा पनि लेख्ने क्रमलाई भैरवनाथ रिमाल ‘कदम’ ले बिसाएका थिएनन् ।
- सुशीला तामाङ

(काठमाडौं) - मान्छेका वेदनालाई गीतमा जीवन्त रूपमा प्रयोग गर्न सक्ने खुबी भएका गीतकार भैरवनाथ रिमाल ‘कदम’ ले आफैं भने आफ्ना सिर्जनालाई सुन्न सक्दैनथे । कानले सुन्न नसके पनि मुटुको गहिराइको आवाजलाई चनाखो राख्दै उनले गीत तथा साहित्यिक लेखनलाई निरन्तरता दिइरहे । नेपाली संगीत तथा साहित्यका तिनै साधक रिमालको शनिबार ८६ वर्षको उमेरमा निधन भएको छ । भौतिक शरीरको अवसानसँगै उनले ऊर्जाशील लेखनलाई बिसाएर गए ।
रिमाल केही महिनादेखि अस्वस्थ भई थलिएका थिए । उनी गीतकारका साथै नेपाली साहित्यमा कविका रूपमा परिचित थिए । वि.सं. २००८ मै लेख रचना छापेका रिमालले २०११ सालमा नै पहिलो कृति ‘भैचम्पा’ खण्डकाव्य प्रकाशित गरेका थिए । उनका ‘बिन्दु,’ ‘माटो रम्छ,’ ‘दर्शन’ र ‘शैलजा’ लगायतका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।
‘जुन फूल मैले चाहेको थिएँ,’ ‘उदास मेरो जीवनकथा,’ ‘हुँ यात्री रुमल्ली हिँड्ने’ र ‘तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको’ लगायत उनले लेखेका स्रोतका लागि गीत सदाबहार छन् । नेपाली संगीतमा सिर्जनामा अत्यन्तै लगावका साथ लागेको स्रष्टाका रूपमा गीतकार राजेन्द्र थापा रिमाललाई स्मरण गर्छन् । थापाले रिमाललाई जागिरे जीवनकै क्रममा २०२८ सालतिर नै भेटेका थिए । त्यतिबेला रिमाल तत्कालीन नेपाली सेनाको रक्षा कन्ट्रोलमा कर्मचारीका रूपमा कार्यरत थिए । रिमालले आफ्ना रचनाहरू पढ्न दिएको सम्झँदै उनले भने, ‘उहाँ त्यतिबेलादेखि नै कान सुन्नु हुन्नथ्यो । आफूले लेखेका लेख तथा रचनाहरू हामीलाई पढ्न दिनुहुन्थ्यो ।’ रिमाललाई गीतकारका रूपमा भने केही वर्षपछि मात्र चिनिएको थापाले सुनाए । रिमालले रचना गरेका कैयौं गीतहरूमा तीनताक थुप्रै गायक–गायिकाहरूले स्वरबद्ध गरे पनि नारायण गोपाल र अरुणा लामाको स्वरले उनलाई गीतकारका रूपमा चर्चित बनाएको थापा ठहर गर्छन् । संगीतमा सिर्जनाका लागि निरन्तर रूपमा लाग्ने एक
अथक स्रष्टाका रूपमा उनी
रिमाललाई लिन्छन् ।
आफ्नो सिर्जना गीतका रूपमा चले पनि नचले पनि रिमालले लेख्ने क्रम बिसाएका थिएनन् । यसैमा धेरै आर्थिक लगानीसमेत गरे । त्यतिबेला सिर्जनामा गीतकारको नाम नै उल्लेख नगर्ने परिपाटीले उनको कैयौं सिर्जनाहरू ओझेलमा परेकोमा उनको दुर्भाग्यका रूपमा साबित भएको थापाको दाबी छ । गीत लेखन क्रमको भेटमा रिमालले आफ्नो सिर्जना जनमानसमा स्थापित हुन नसकेको गुनासो पोखेको उनलाई अझै याद छ ।
गीत लेखनमा रिमाललाई नारायण गोपालपछिको पुस्ता दीप श्रेष्ठको गायकीले अझै चिनाएको थियो । श्रेष्ठले उनको रचनामा एक दर्जनभन्दा बढी गीतहरूमा स्वर दिएका छन् । रिमालको रचनामा ‘आफ्नै कथा जिन्दगीको,’ ‘झस्किएछ मन मेरो’ र ‘हुँ यात्री’ जस्ता श्रेष्ठका स्वरबद्ध गीतहरू चर्चित छन् ।
रिमालद्वारा सिर्जना गरिएका आफ्ना केही पुराना गीतहरूलाई पुनः रेकर्ड गरेर उनलाई सुनाउने श्रेष्ठको धोको थियो । छिट्टै नै रेकर्ड गरी रिमाललाई सरप्राइज दिने सोचेका उनी रिमालको निधनको खबरले स्तब्ध छन् । उनले भने, ‘मैले उहाँलाई पुनः रेकर्ड गरी गीत सरप्राइज दिने सोच्दै थिएँ । उहाँले पो मलाई अत्यन्तै दुःखित बनाउने सरप्राइज दिएर जानुभो ।’

कला र शैली

थारू बस्तीमा माघीको चटारो

खानपिनका वस्तुको किनमेलसँगै घर लिपपोत र सरसफाइ
- गणेश चौधरी

(टीकापुर) - पश्चिम तराईका थारू बस्तीमा माघी पर्वको रौनक छाउन थालेको छ । थारू समुदाय माघी पर्व मनाउन खानपिनका वस्तुको किनमेलसॅंगै घर लिपपोत र सरसफाइमा जुटेका छन् । ‘थारू गाउॅमा माघीका लागि सुँगुर, बंगुरको मासु किन्नेहरूको ‘लिस्ट’ बनाउने काम भइसकेको छ,’ जानकी गाउॅपालिका–६ सुवर्णपुरका भोजराज चौधरीले भने, ‘माघी नुहाउन को कहाॅ जाने साथीभाइ र परिवारमा सरसल्लाह भइरहेको र दिदीबहिनीले मघौटा नाचका लागि आफ्नो टोली बनाउने काम पनि भइरहेको छ । गाउँगाउँमा माघीका लागि विभिन्न उमेर समूहका स्थानीयहरूबीच किनमेल, कुटानी पिसानी र नाचका टोलीहरू बनाउनेबारे सरसल्लाह भइरहेको छ । माघी पर्वमा आफन्त तथा साथीभाइलाई थारू समुदायको पकवान ढिकरी तथा सुगुर बंगुरको मासु खाने/खुवाउने चलन छ ।
गाउँभरिका थारू समुदाय एकै ठाउँमा सुँगुर, बंगुर काट्ने हुँदा आफ्नो परिवारलाई चाहिने मासुको जोहो पर्व सुरु हुनुअगावै भइसकेको छ । यो पर्वमा थारू समुदायका घरमा खासगरी सुँगुर, बंगुरको मासु खाने चलन छ । माघीमा जाँड, सुँगुर र बंगुरको मासु खाने चलन भएकोले थारू गीत पनि त्यसै अनुसार गाइएका छन् ।
माघ लहैली सुरिक सिकार खैली रे हा
सखियाहो माघक पीली गुरिगुरी जार, सखिया हो..........
माघी पर्वमा दिदीबहिनी तथा साथीभाइलाई आमन्त्रण गर्ने काम पनि भइरहेको छ । पछिल्लो समय माघीमा नुहाउने घाटमा मेला लगाउने चलन बढ्दै गएको छ । कैलालीका घोडाघोडी ताल, बर्दगोरिया, पथरैया नदी तथा कर्णाली नदीलगायतका विभिन्न घाटमा माघी मेला लाग्छ । माघीमा ढिकरी बनाउन चामलको पिठो पिसाउन यहाॅका मिलहरूमा पनि घुइँचो लागेको जानकी गाउँपालिका–३ का गोविन्द शाहले बताए ।
थारू समुदायको नयाँ वर्ष एवं माघी मनाउन घरबाट टाढाटाढा गएकाहरू प्नि गाउँघरमा पुग्न थालेका छन् । पुसको अन्तिम दिनबाट नै माघी पर्व सुरुवात हुने गर्छ ।
पुस मसान्तका दिन सुँगुर, बंगुर काट्ने र माघ १ गतेदेखि धुमधामसॅग नाच्ने र गाउने रमाउने चलन छ । पुस मसान्तका राति बडघरका घरमा माघी पर्वमा गाइने धुम्रु गीत गाउँदै रातभरि नाचगान गरी जाग्राम बस्ने र बिहान माघ १ गते नाच्दै नजिकैको नदी तालतलैयामा नुहाउन जाने परम्परा छ । यसलाई थारूहरू ‘माघ लहैना’ भन्छन् ।
प्रत्येक माघीमा आफ्ना मान्यजनहरूबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा थारू समुदायमा छ । नदीखोलामा नुहाएर सेतो चामलको टीका लगाउने र घरमा आएर आफ्ना चेलीबेटीका लागि नुन, चामल, दाललगायतका कोसेलीका रूपमा छुट्याउने गर्छन् । यसलाई थारूहरू निसराउ भन्छन् । निसराउ आफ्ना दिदीबहिनीका लागि दानका रूपमा छुट्याउने परम्परा छ । माघ २ गते दाजुभाइले दिदीबहिनीलाई निसराउ दिन जाने चलन छ । कोसेलीका आशामा थारू युवतीले यस्तो गीत गाउने परम्परा रहेको छ ।
निसराउकहर्ना बाँसक सुप्पमनहाँ... निसराउकहर्ना
सखियाहो नानि देहो डाडु निसराउ मोर, सखियाहो........
माघ महिनाको दोस्रो दिनलाई माघी डेवानी भनिन्छ । त्यस दिन गाउँका भल्मन्सा वा बडघरका घरमा भेला भएर वर्ष दिनमा गरिएका क्रियाकलापको समीक्षा गर्ने, गाउँको सामूहिक कामको आयव्यय विवरण सार्वजनिक गर्ने र नयाॅ बडघर छनोट गर्ने परम्परा पनि छ । यो क्रम एक साता जति कायम हुने थारू समुदायका अगुवाहरू बताउँछन् ।
पछिल्लो समय प्रशस्त रेकर्डेट गीतहरू पनि छन् । यसले ठाउँठाउँमा आयोजना हुने मेला महोत्सवमा माघीको रौनकता थप्ने गरेको छ । यो पर्वपछि वर्षभरिको योजना बनाउने काम पनि थारू बस्तीमा हुने गरेको जानकी गाउँपालिका–६ सुवर्णपुरका भोजराज बताउँछन् । उनका अनुसार थारू गाउँका लागि चाहिने बडघर, चौकीदार र गुरुवा छान्ने काम पनि यही बेला हुने गर्दछ । कमैयामुक्तिको घोषणा पूर्वकमैया राख्नका लागि हुने खोज्नीबोज्नीको परम्परा भने अहिले हटेको छ । अधियामा जग्गा जोत्ने नजोत्ने छिनोफानो भने यही बेला गर्छन् ।

कला र शैली

अरनिकोको पूर्णकदको सालिक बन्दै

१७ फिट उचाइको मूर्ति स्थापना गर्न ५० लाख रूपैयाँ बजेट अनुमान
- कान्तिपुर संवाददाता

(काठमाडौं) - १७ वर्षकै कलिलो उमेरमा अरनिको चीनतिर प्रस्थान गर्दा कस्ता थिए ? उनको जीवनशैली र बाह्य आवरणहरू कस्ता थिए ? ठ्याक्कै उनैको हुबहु स्वरूपलाई जीवन्त रूपमा मूर्तिमा ढाल्न यतिबेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चार जना मूर्तिकार प्रयासरत छन् । गंगाधर सारु मगरको डिजाइन र अगुवाइमा दीपक लामा, दीपेन्द्र पाण्डे र चन्द्रमणि मगरले अरनिकोको पूर्णकदको सालिक बनाइरहेका हुन् ।
चीन र नेपालबीचको सम्बन्धलाई कलाको माध्यमबाट युगयुगान्तरसम्म बलियो बनाउने अरनिकोको योगदानको कदरस्वरूप प्रतिष्ठानको परिसरमा १७ फिट उचाइको मूर्ति स्थापना गर्न लागिएको मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले बताए । उनका अनुसार प्रतिष्ठानले अरनिकोको पूर्ण कदको सालिक निर्माण प्रस्तावलाई एक दशकअघि नै ल्याएको थियो । हाल ५० लाख रुपैयाँ बजेट अनुमान गरिएको योजनालाई यही आर्थिक वर्षभित्र नै पूरा गर्ने प्रतिष्ठानको लक्ष्य छ ।
८० जना कलाकारहरूसहित चीन गएका अरनिकोले त्यहाँ आकर्षक स्तूप, चैत्य बनाएर आफ्नो अद्भुत कला प्रदर्शन गरेका थिए । १७ वर्षको उमेरमा अरनिको चीनमा गएकाले त्यति नै उचाइको मूर्ति बनाउन लागिएको प्रतिष्ठानको भनाइ छ ।
गएको असोजदेखि मूर्ति बनाउन थालिएको सारु मगरले बताए । उनका अनुसार हाल निर्माणको दोस्रो चरणको काम चलिरहेको छ । पहिलो चरणमा फलाम पूर्ण कदमा ढालिएको थियो । अहिले माटोबाट निर्माण भइरहेको छ । शरीरको तल्लो भाग खुट्टा, जुत्ताका साथै माथिल्लो तहमा हातका औंलाहरू र टाउको बन्ने क्रममा नै छन् । निर्माणका लागि भक्तपुरको सेरामिक्स माटो प्रयोग गरिएको मगरले बताए । तीन हजार किलोजति माटो लाग्ने उनले अनुमान गरेका छन् ।
सालिक बनाउन नमुनाका रूपमा पहिले चित्रकला अघि सारिएको थियो । सारु मगरसहित प्रदीप पल, कमलेश महर्जनलगायतको उत्कृष्ट पाँच चित्रकला छनोट गरिएको थियो । नमुना मूर्तिकला प्रस्तुतिमा सारु मगरको डिजाइन छनोट भएपछि मूर्ति बनाउन थालिएको थियो । झन्डै दुई दशक मूर्तिकलाको अनुभव रहेको सुनाउँदै सारु मगरले अरनिकोको मूर्ति बनाउनु आफ्ना लागि अवसर र चुनौती दुवै भएको बताए ।
‘अरनिको राष्ट्रिय विभूति हुन्, कलाका लागि उनको उचाइ त्यसै पनि उचो छ,’ उनले भने, ‘उनको मूर्ति बनाउनु भनेको सिर्जनात्मक रूपमा सामान्य कलाकृति बनाउनु जस्तो होइन । मूर्तिमा उनको व्यक्तित्व र उचाइलाई पनि जीवन्त देखाउनु अर्को महत्त्वपूर्ण काम हो ।’ अरनिकोको पहिरन शैली र विशेषगरी मुहारमा जीवन्तता ल्याउन निकै ध्यान दिनुपर्ने उनले सुनाए । उनीसँगै खटिरहेका मूर्तिकारहरू लामा, पाण्डे, मगरले पनि यसमा विशेष मिहिनेत गर्दै छन् ।
‘मूर्तिकला आफैंमा सौन्दर्य छ,’ विभागका प्रमुख लामा भन्छन्, ‘अरनिको मूर्ति स्थापना हुनु कलामा गौरवका साथै यसलाई अग्रजको कदर र स्मरण गर्ने अभ्यासका रूपमा पनि लिनुपर्छ ।’ यस कार्यबाट अन्य कलाकारहरूमा उत्साह र जागरण आउने उनको विश्वास छ ।

कला र शैली

मानकृष्णको सहयोगार्थ 'लुँ यागु तक्मा’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल भाषाको टेलिशृंखला ‘ख्वताबजि’का चर्चित कलाकार हुन् मानकृष्ण वावा । अभिनयसँगै उनी हार्मोनियम र तबला प्रशिक्षक हुन् । हार्मोनियम उस्तादकै रूपमा उनी चिनिन्छन् । मानकृष्ण अभिनय र हार्मोनियमबाट आएको कमाइले नै जीवन गुजारा गर्दै आएका छन् ।
५७ वर्षीय मानकृष्ण डेढ वर्षदेखि फोक्सोको समस्याबाट पीडित छन् । भाडाको कोठामा बस्दै आएका उनी हरेक महिना उपचारका लागि अस्पताल धाउँछन् । खर्च लाग्छ, १५/२० हजार । आर्थिक हिसाबले उनको अवस्था नाजुक छ । सीमित आम्दानी खाना र घरभाडामै ठिक्क हुने भएकाले आर्थिक अवस्था नाजुक छ । मानकृष्णको सहयोगार्थ ‘ख्वताबजि’का निर्देशक सुरेन्द्र तुलाधरले फिल्म ‘लुँ यागु तक्मा’ (सुनको तक्मा) बनाउने भएका छन् । नेपाल भाषामा निर्माण हुने उक्त फिल्मको छायांकन आगामी माघबाट सुरु गरिने भएको छ ।
‘मानकृष्ण निको त हुनुभयो अहिले तर पूर्ण रूपले निको हुनुहुन्न । त्यही भएर उहाँको नाममा स्वास्थ्य संरक्षण कोष खोलेर १०/१५ लाख जम्मा गरिदिने सोचेका छौं,’ निर्देशक तुलाधर सुनाउँछन्, ‘ख्वताबजिकै कलाकारले फिल्ममा अभिनय गर्नुहुन्छ । फिल्मको आम्दानी सबै त्यही अक्षयकोषमा राखिदिनेछौं ।’ लुँ यागु तक्मामा मानकृष्णले पनि अभिनय गर्नेछन् । यसअघि नेपाल भाषाकै फिल्म निर्देशनमा सक्रिय तुलाधरले नै नयाँ फिल्मका लागि कथा लेखेका हुन् । फिल्मको शुभ मुहूर्त भइसकेको छ । सुखावती मल्टी प्रोडक्सनमा बन्ने फिल्ममा नील शाक्यको संगीत र भोगेन्द्र मानन्धरको नृत्य रहनेछ । बाबु–छोराको कथा समेट्ने पारिवारिक विषयको फिल्मको सहनिर्देशन सविन शाक्यले गर्दै छन् भने छायांकन देवेन्द्र महर्जनले गर्नेछन् । फिल्ममा मानकृष्णसँगै सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल र रञ्जना सितिखुलगायतको अभिनय रहने तुलाधरले बताएका छन् ।

Page 12
खेलकुद

पुष्पाले जितिन् ऐतिहासिक स्वर्ण

- ढाका म्याराथन

(काठमाडौं) - नेपाली धाविका पुष्पा भण्डारीले आइतबार बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । पुष्पाले दक्षिण एसियाली विधातर्फ २ घण्टा ५९ मिनेट ४१ सेकेन्डसँगै पहिलो स्थान हात पारेकी हुन् ।
नेपाली एथलेटिक्स इतिहासमा महिलाले अन्तर्राष्ट्रिय म्याराथनमा स्वर्ण जितेको यो पहिलोपल्ट हो । पुष्पाले उपाधि जितसँगै ५ लाख बंगलादेशी टाका पुरस्कार हात पारेकी छन् । उनी १३औं दक्षिण एसियाली खेलकुदको महिला म्याराथनका रजत विजेता हुन् ।
ढाका म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुदका पदक जितेका अन्य देशका खेलाडी पनि प्रतिस्पर्धी थिए । १३ औं सागकी स्वर्णधारी श्रीलंकाली हुरिना केसारा विजयरत्ने भने सहभागी भइनन् । सागकी कांस्य विजेता भारतकी ज्योति गवातेले भने ढाकामा रजत हात पारिन् । उनले ३ घण्टा १६ सेकेन्डमा दूरी पूरा गरेकी हुन् ।
भारतकै दिव्यांका चौधरी तेस्रो भइन् । उनले ३ घण्टा ७ मिनेट ४१ सेकेन्डमा म्याराथन पूरा गरिन् । व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने लक्ष्यसहित करिब दुई महिनाको तयारीमा ढाका पुगेकी पुष्पाले गत सागमा आफैंले बनाएको २ घण्टा ५० मिनेट ११ सेकेन्डको राष्ट्रिय कीर्तिमान भने सुधार गर्न सकिनन् । ‘तयारी थोरै थियो । काठमाडौंमा धेरै जाडो थियो यहाँ गर्मी रहेछ, रूटसँग पनि हामी परिचित हुन सकेनौं,’ ढाकाबाट कान्तिपुरसँग कुरा गर्दै पुष्पाले भनिन्, ‘त्यसैले टाइमिङमा मैले आफ्नो उत्कृष्ट पनि दिन सकिनँ ।’
महिला खेलाडीको रूपमा पहिलोपल्ट आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने खेलाडी बन्न पाएको पुष्पाले खुसी व्यक्त गरिन् । पुष्पाले १२औं दक्षिण एसियाली खेलकुदमा पनि म्याराथनमा प्रतिस्पर्धा गरेकी थिइन् । तर दूरी पार गर्न सकिनन् । उनले गत
महिना सम्पन्न नेपालगन्ज म्याराथनमा पनि उपाधि जितेकी हुन् । सल्यानकी २५ वर्षीया उनले छैटौं राष्ट्रिय खेलकुदलदेखि म्याराथन दौडन थालेकी हुन् । उनले त्यतिबेला नै दोस्रो स्थान हात पारेकी थिइन् । आठौं राष्ट्रियकी पनि रजत विजेता हुन् पुष्पा ।

किरण चौथो
पुरुषतर्फ भने किरणसिंह बोगटी दक्षिण एसियाली विधामा चौथो भएका छन् । उनले २ घन्टा २६ मिनेट १३ सेकेन्डमा दूरी पार गरेका थिए । उनी १३ औं सागमा पुरुष म्याराथनका स्वर्ण विजेता हुन् । दक्षिण एसियाली स्पर्धामा भारतका धावकको वर्चस्व रह्यो । २ घण्टा २१ मिनेट ४० सेकेन्डको टाइमिङसहित बहादुरसिंह धोनीले उपाधि जित्दा भारतकै रसपाल सिंह १ सेकेन्डले पछि परेर दोस्रो भए । रसपाल १३औं सागका रजत विजेता हुन् । तेस्रो भएका भारतकै हित रामले २ घण्टा २५ मिनेट २३ सेकेन्डमा दूरी पार गरे ।  
नेपाली टोलीका प्रशिक्षक धनीराम चौधरीले कठिन कोर्सका कारण खेलाडीको व्यक्तिगत टाइमिङमा असर परेको बताए । ढाकाबाट कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘लुपकोर्समा खेलाइएको थियो । ७ किलोमिटरको एउटै घेरामा दौडाइएका कारण हाम्रा खेलाडीहरू अन्योलमा परे । हाम्रा लागि यहाँको वातावरण र कोर्स नयाँ भयो । मैले अन्य विजेता धावकसँग पनि कुरा गर्दा उनीहरूले पनि यो कोर्सबारे गुनासो गरे ।’
बंगलादेशका नेता शेख मुजिबुउर रहमानको सयौं जन्मोत्सवका अवसरमा बंगलादेशमा पहिलोपल्ट म्याराथन आयोजना भएको हो । बंगलादेश सेनाको आयोजनामा भएको प्रतियोगितालाई विश्व एमेच्योर एथलेटिक्स महासंघ र एसियाली एमेच्योर एथलेटिक्स महासंघले मान्यता दिएका छन् । 
कोरोना भाइरस महामारीका कारण झण्डै १० महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खेलाडीले खुसी व्यक्त गरे । गत मंसिर ५ गते नेपालगन्ज म्याराथन भएको थियो । कोरोना महामारीपछिको त्यो पहिलो घरेलु खेलकुद प्रतियोगिता थियो । 

खेलकुद

चार टेलिभिजनबाट स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रशारण

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा मंगलबार हुने १७औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ । कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड यसपालि सेमीभर्चुअल स्वरुपमा हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । भर्चुअल आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ । यसअघि हजारौं खेलप्रेमी समर्थकको उपस्थितिमा हुने कार्यक्रममा यसपटक सीमित व्यक्तित्वमात्र उपस्थित हुने जनाइएको छ ।
कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक पदाधिकारीको मात्र उपस्थिति रहनेछ । हलमा सीमित व्यक्तिमात्र रहने भएकाले कार्यक्रम चार राष्ट्रिय टेलिभिजनमा एकसाथ प्रत्यक्ष प्रशारण हुनेछ । आयोजकका अनुसार एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ । त्यस्तै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत अन्य खेलकुदका अनलाइन च्यानल र त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल डिस्प्लेबाट पनि प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ । कार्यक्रमका निम्तालुहरू जुममार्फत जोडिने छन् ।
अपरान्ह साढे ४ बजे सुरु हुने कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति दिइने मञ्चले जनाएको छ । पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षकले अवार्ड जित्नेछन् ।
पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको सोमबार राति १२ बजेसम्म मात्र ई–सेवामार्फतको भोटिङ र फेसबुक लाइक अप्सन खुला रहने जनाइएको छ ।

खेलकुद

बार्सिलोनाको जित, रियलको बराबरी

- कान्तिपुर संवाददाता


म्याड्रिड (रोयटर्स)– बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो अपराजित यात्रालाई शनिबार ८ खेलमा पुर्‍याएको छ । लियोनल मेसी र एन्टोइन ग्रिजमनको समान दुई गोल मदतमा बार्सिलोनाले ग्रेनाडामाथि ४–० सजिलो जित निकाल्यो । ग्रिजमनले १२ औं मिनेटमा गोलको खाता खोलेपछि ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए ।
यसबीच मेसीले ३५ र ४२ औं मिनेटमा गोल गरेका थिए । यो जितपछि बार्सिलोना ३४ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । रियल म्याड्रिड ३७ अंकसहित दोस्रो स्थानमा छ । टोलीले शनिबारै अर्को खेलमा ओसासुनासँग निराशाजनक गोलरहित बराबरीमा चित्त बुझायो । सेभियाले भने रियल सोसिडाडलाई ३–२ ले हरायो ।
लिगको सुरुआतमा राम्रो प्रदर्शन गरेको सोसिडाड यो हारपछि ३० अंकसहित पाँचौं स्थानमा रह्यो । एट्लेटिको म्याड्रिड र एथलेटिक बिल्बाओबीचको खेल भने खराब मौसमका कारण रद्द गरिएको छ । एट्लेटिकोले १५ खेलमात्र खेलेको छ र ३८ अंकसहित शीर्षस्थानमा कायम छ ।

मिलानको अग्रता
मिलान– एसी मिलानले इटालीको सिरी ‘ए’ को शीर्षस्थानमा शनिबार ४ अंकको अग्रता खोलेको छ । चोटमुक्त भएका ज्लाटन इब्राहिमोभिचलाई मैदानमा स्वागत गरेको मिलानले टुरिनोमाथि २–० को सजिलो जित निकाल्यो । खेलको अन्त्यतिर स्विडिस खेलाडी वैकल्पिकका रूपमा मैदानमा प्रवेश गरेका थिए ।
मिलानका लागि गोल गर्ने खेलाडी भने राफेल लियो र फ्रान्क केसी रहे । मिलानको यो जितपछि १७ खेलबाट ४० अंक भएको छ । मिलान यसअघि युभेन्ट्ससँग पराजित भएको थियो । इन्टर मिलान ३६ अंकसहित दोस्रो स्थानमा छ । अर्को खेलमा जेनुआले बोलोग्नालाई २–० ले हरायो ।

आर्सनल चौथो चरणमा
लन्डन– अतिरिक्त समयमा इमिल स्मिथ र पिएरे एमरिक अबामेयाङको गोलमा डिफेन्डिङ च्याम्पियन आर्सनलले न्युकासल युनाइटेडलाई शनिबार २–० ले हराएर एफए कपको चौथो चरणको तय गरेको छ । कीर्तिमान १४ पटकको एफए कप विजेता आर्सनल पछिल्लो २५ वर्षमा एक पटकमात्र तेस्रो चरणमा रोकिएको छ । लिगमा लगातार तीन खेल जितेपछि आर्सनलले एफए कपमा यो सफलता हात पारेको हो । अर्को खेलमा म्यानचेस्टर युनाइटेड पनि चौथो चरण पुग्न सफल रह्यो । टोलीले यसका लागि वाट्फोर्डलाई १–० ले हरायो । यसमा स्कट म्याकटोमिनीले चौथो मिनेटमा गरेको हेड गोल नै निर्णायक भयो । 

खेलकुद

प्रदेशस्तरीय खेलाडीको सम्मान

- कान्तिपुर संवाददाता


पाल्पा (कास)– नेपाल आईटीएफ तेक्वान्दो महासंघ, लुम्बिनी प्रदेशस्तरीय कालोपेटी परीक्षा एवं विभिन्न राष्ट्रिय आईटीएफ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा रोल्पाले आयोजना गरेको भर्चुअल प्रतियोगितामा विजेता खेलाडीलाई सम्मान गरियो । प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटीएफ खुला प्याट्रन प्रतियोगितामा पाल्पाले तीन स्वर्ण, दुई रजत र १० कांस्य पदक जितेको थियो । पाल्पाबाट स्वर्ण विजेता वीरेन्द्र बुढा, यानिज गुरुङ, रजत विजेता उज्ज्वल गहतराज र नारायण बुढा र कांस्य विजेता विधान राई, रोशनी श्रेष्ठ र बिक्री पुनलाई सम्मान गरिएको हो ।
पाल्पाले आयोजना गरेको प्रथम आईटीएफ पुरुष भर्चुअल सेल्फ डिफेन्स राष्ट्रिय तेक्वान्दोका स्वर्ण विजेतालाई समेत सम्मान गरियो । पाल्पाका स्वर्ण विजेता साजन पचभैया, वीरेन्द्र बुढा, उज्ज्वल गहतराज, अशोक सारु थापालाई सम्मान गरिएको हो ।

जिल्ला संघमा सारु मगर
आईटीएफ जिल्ला संघ पाल्पाको अधिवेशनले नीरबहादुर सारुलाई पुनः अध्यक्ष चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा सुरज थापा, उपाध्यक्षमा कृष्ण थापा, सचिवमा नगेन्द्र मल्ल, सहसचिवमा श्यामबहादुर गाहा मगर, कोषाध्यक्षमा सञ्जु कार्की, सहकोषाध्यक्षमा विष्णुबहादुर नेपाली चयन भए । सदस्यमा रेजिना गाहा, ममता गाहा, सुस्मिता सूर्यवंशी, प्रविना पुन, सुभाष आले, विपिन सुनाम, विष्णुबहादुर सारु, देव थापा, उज्ज्वल गहतराज छन् ।
प्रतियोगिता निर्देशकमा गम्भीर सारु र मुख्य प्रशिक्षकमा साजन पचभैया चयन भए । आईटीएफका लुम्बिनी प्रदेश अध्यक्ष वीरेन्द्रबहादुर शाहीले खेलाडीलाई हौसला हुने कार्यक्रम गर्न आग्रह गरे ।

खेलकुद

ब्याडमिन्टन खेलाडीलाई सहयोग

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट प्रदान गरेको छ । सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पा र प्रमुख कार्यकारी अधिकृत कल्याण सिलवालले खेलाडीलाई ज्याकेट हस्तान्तरण गरे । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई ज्याकेट प्रदान गरिएको हो ।

खेलकुद

भारतलाई कठिन चुनौती

- कान्तिपुर संवाददाता


सिड्नी (एपी)– भारतसामु अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट बचाउन ठूलो चुनौती देखिएको छ । ४ सय ७ रनको कठिन लक्ष्य लिएर आएको भारत चौथो दिनको खेल सकिँदा २ विकेट गुमाई ९८ रनको स्थितिमा छ । भारत जितभन्दा अझै ३ सय ९ रनले टाढा छ ।
सिड्नी क्रिकेट मैदानमा अहिलेसम्म २ सय ८८ रनभन्दा बढी विजय लक्ष्य पछ्याउन सकिएको छैन । घरेलु टोली अस्ट्रेलियाले १०३–२ बाट आइतबारको खेल सुरु गरेको थियो र ३१२–६ मा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै भारतलाई ठूलो चुनौती दिएको थियो । अलरान्डर क्यामरन ग्रिनले आक्रामक खेल्दै ८४ रन बनाए । अघिल्ला दिनका अविजित ब्याट्सम्यान स्टिभ स्मिथ ८१ र मार्नस लाबुसचेन ७३ रनमा आउट भए । लाबुसचेनले १ सय १८ बल खेल्दै ९ चौका प्रहार गरे । पहिलो इनिङ्समा शतक बनाएका स्मिथले १ सय ६७ बलको इनिङ्समा ८ चौका र १ छक्का प्रहार गरेका थिए । टेस्ट क्रिकेटमा आफ्नो पहिलो अर्धशतक बनाएका ग्रिनले १ सय ३२ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे । उनी आउट भएसँगै अस्ट्रेलियाले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । कप्तान टिम पेन ३९ रन बनाई अविजित रहे । उनले ५२ बलमा ६ चौका प्रहार गरे ।
भारतले सुरुआत भने राम्रो गरेको थियो । शुभमन गिल र रोहित शर्माले पहिलो विकेटमा ७१ रन जोडेका थिए । गिललाई ३१ रनमा जोस हेजलउडले विकेटकिपर पेनबाट क्याच गराए । शर्माले ५२ रन बनाई डिपमा क्याच दिन पुगे । उनले ९८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । चेतेश्वर पुजारा ९ र कप्तान अजिन्क्या रहाने ४ रन बनाई क्रिजमा छन् । शृंखला १–१ को बराबरीमा छ ।
दिनको खेल भारतका बलर मोहम्मद सिराजमाथि जातीय दुर्व्यवहारका कारण प्रभावित हुन पुग्यो, जसका कारण १० मिनेट खेल नै अवरुद्ध भयो । उनीमाथि दर्शकदीर्घामा रहेको एक समूहले जातीय दुर्व्यवहार गरेको थियो । प्रहरी लगाएर दुर्व्यवहार गर्ने ६ दर्शकलाई रंगशालाबाट निकालिएको थियो । अस्ट्रेलिया क्रिकेटले यस विषयमा आफ्ना समकक्षी भारतीय बोर्डसँग माफी माग्दै घटनाको छानबिन गर्ने जनाएको छ । आफ्ना खेलाडीले शनिबारको खेलमै यस्तो व्यवहार सामना गर्नुपरेको भनी भारतीय क्रिकेटले उजुरी गरिसकेको थियो ।

खेलकुद

क्रिकेटर कुन्दनको निधन

- कान्तिपुर संवाददाता


धनुषा (कास– प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुन्दन सिंहको निधन भएको छ । मिर्गौला रोगले थलिएका क्रिकेटर कुन्दनको महोत्तरीको जलेश्वर–९ फुल्हटास्थित घरमै २५ वर्षको उमेरमा आइतबार निधन भएको हो । अभ्यासकै क्रममा मिर्गौलामा समस्या देखिएपछि एक वर्षयता उनी नियमित डायलसिसमा थिए । मिर्गौला फेर्नुपर्ने अवस्थामा पुगे पनि आर्थिक अभावले उनको उपचार हुन सकेको थिएन । खेलप्रेमीहरूले रकम संकलन गरेर उनको उपचारमा सहयोग भइरहेको थियो । राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा उनले चारपल्ट यू–१६, तीनपल्ट यू–१९ र तीनपल्ट खुला प्रतियोगितामा आफ्नो प्रदर्शन देखाएका थिए । दोस्रो प्रधानमन्त्री कप सकिएपछि एकेडेमी भर्ना भएका उनी अभ्यासका क्रममा बिरामी भएका थिए । त्यसपछि वीर अस्पताल भर्ना हँॅदा उनमा मिर्गौलाको समस्या देखिएको थियो ।
गाउँमै कक्षा १२ सम्म अध्ययन गरेपछि उनी काठमाडौं गएका थिए । जिल्ला क्रिकेट संघ धनुषाका कार्यवाहक अध्यक्ष शोभाकान्त पाण्डेका अनुसार कुन्दनको मिर्गौला प्रत्यारोपणका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने र त्यसको बन्दोबस्तीमा ढिलाइ हँॅदा झन् समस्या बल्झिएको थियो ।