You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

कोइलाखानीमा अड्किएको जीवन

१७ दिनकी सुत्केरी श्रीमतीलाई स्याहार्न साँझ नपर्दै आउँछु भन्दै गएका थिए मोहनलाल, तर फर्केनन्
- दुर्गालाल केसी

(तिर्साङ, दाङ) - बिहान उठ्नेबित्तिकै सुत्केरी पत्नीलाई खाना पकाइदिए, आफूलाई खानेकुरा पोको पारे । त्यसपछि मोहनलाल कामी बिहान ७ बजे घरबाट उकालो लागे । ‘समयमै खाना खानू, आफ्नो ख्याल गर्नू, म छिट्टै आउँछु’ भन्दै उनी कोइलाखानीमा काम गर्न गएका थिए । श्रीमान् छिट्टै आएर बेलुकाको खाना पकाउलान् भन्ने आसमा बसेकी श्रीमती शान्ति कामीले अपराह्नतिर नराम्रो खबर सुनिन् । छोराहरू ‘बाबा खानीमा पुरिए रे’ भन्दै रुँदै आए, शान्तिलाई पत्याउन गाह्रो भयो । उनी सकीनसकी कोइलाखानीमा पुगिन्, पोको पारेको श्रीमान्को शव देखिन् । त्यसपछि उनका हातखुट्टा गले, बोली फुटेन, सबैतिर अन्धकार देखिन् ।
घोराही–१९ तिर्साङका ४१ वर्षीय मोहनलाल गत सोमबार स्थानीय राम्चे कोइलाखानीको सुरुङभित्र पुरिएका हुन् । बिहान ८ बजे कोइलाखानीभित्र पसेका उनी ११ बजे खाना खान निस्केका थिए । घरबाट बिहान बोकेर लगेको भात खाएर १ बजे फेरि खानीमा पसेका थिए । कोइला खन्दाखन्दै दिउँसो साढे २ बजेतिर माथिबाट ठूलो ढुंगा खस्यो र ऐय्या पनि भन्न नपाई उनको ज्यान गयो । छेउमै भएका रिखुराम घर्ती, शोभाकर सुनार र धनबहादुर पुन दौडेर नजिक गए तर त्यतिबेलासम्म प्राण गइसकेको थियो । १३ वर्षदेखि निरन्तर खानीमा कोइला निकाल्ने काम गर्दै आएका मोहनलाल १ सय ६० मिटर गहिराइमा च्यापिएका थिए । प्रहरी र स्थानीयको सहायताले बेलुकापख मात्रै उनको शव निकालिएको थियो । खानीभित्रको काम जोखिमपूर्ण भए पनि जीवन चलाउन नगरी नहुने बाध्यता थियो उनको ।

‘म सुत्केरी भएपछि केही दिन बिदा बसेर मेरो स्याहार गर्नुभयो तर साँझ–बिहान खाना जुटाउन गाह्रो भयो अनि फेरि काममा जानुभयो,’ शान्तिले भनिन्, ‘अघिल्लो दिन बेलुका खानीमा पानी निस्केको छ, काम गर्न गाह्रो हुन्छ जस्तो छ भन्नुभएको थियो । मैले भोलि काममा नगए भयो नि भनें तर सुत्केरीलाई खाने खर्च चाहियो भन्दै भोलिपल्ट काममा गइहाल्नुभयो ।’
रोल्पाको सीमा क्षेत्रमा पर्ने तिर्साङ गाउँ भौगोलिक रूपमा विकट छ । सदरमुकाम घोराहीबाट २१ किलोमिटर उत्तरमा पर्ने उक्त क्षेत्रमा सिँचाइको सुविधा नभएकाले उब्जनी हुँदैन । गरिब दलित परिवारका मोहनलालको खरले छाएको सानो घर छ । थोरै बारी छ । त्यसमा वर्षमा एक बाली मकै मात्र लाग्छ । मकैले एक महिना पनि खान पुग्दैन । ११ महिनाका लागि मजदुरी गर्नैपर्ने बाध्यता रहेको शान्तिले बताइन् । ‘ज्यान पाल्न केही न केही काम गर्नैपर्‍यो । नजिकमा पैसा हुने अरू केही काम छैन,’ उनले भनिन्, ‘नजिकमा भएको त्यही खानीको काम थियो, त्यसैले ज्यान लियो । अब कसले कमाएर खान दिने हो, छोराछोरी कसरी पाल्ने हो ?’
कक्षा ३ मा पढ्ने १३ वर्षीय छोरा दीपक किरिया बसेका छन् । कान्छा छोरा अशोक ५ वर्षका भए । जेठी छोरी गीताको विवाह भइसकेको छ । माइली छोरी शर्मिला ११ वर्षकी भइन् । उनी कक्षा २ मा पढ्छिन् । भर्खरै छोरी जन्मेकी छन् । उनी अहिले २१ दिनकी भइन् । शान्तिलाई साना छोराछोरीको भविष्य के होला भन्ने पीर छ । ‘गरिबलाई बाँच्न गाह्रो छ,’ उनले भनिन्, ‘ज्यान पाल्ने कामले नै ज्यान लियो । अब कसरी बाँच्नू ?’ घरमा छिमेकीहरू आएर सान्त्वना दिइरहेका छन् तैपनि शान्तिको मन मानेको छैन । आफ्नो मनलाई सम्झाउन गाह्रो भएको छ ।
काल बन्छ खानी
कोइलाखानीभित्रको काम निकै जोखिमपूर्ण छ । जीवन हत्केलामा राखेर हरेक दिन मजदुरहरू सुरुङभित्र पस्छन् । बाँचेर फर्किने आशा हुन्छ, भरोसा हुँदैन । घरपरिवारलाई पनि बिहान गएको मानिस बेलुका फर्केर आउँछ कि आउँदैन भन्ने द्विविधा हुन्छ । यही जोखिमका बीच पनि हरेक दिन खानीभित्र पस्ने र कोइला निकाल्ने क्रम चलिरहेको हुन्छ । राम्चे खानीमा पनि नियमित १५ जना मजदुर सुरुङभित्र काम गर्छन् ।
सोमबार मोहनलालसहित चार जना एकै ठाउँमा काम गरिरहेका थिए भने अन्य सुरुङभित्र अरू ११ जना साथीहरू थिए । सुरुङभित्र विभिन्न बाटो हुने भएकाले मूल सुरुङबाट पसिसकेपछि भित्र उनीहरू आ–आफ्नो बाटोमा लाग्छन् । माथिबाट ढुंगामाटो खस्न थाले रोक्ने उपाय केही छैन । कतैकतै काठको टेकासो लगाइए पनि त्यसले छेक्ने सम्भावना कमै हुन्छ । कतै बोरा राखेर
अड्याइएको हुन्छ । सुरुङभित्र पानी जमेर पनि कोइला निकाल्न समस्या हुन्छ । जोखिम मोलेर काम गर्नुपर्ने भएकाले कोइलाखानी काल नै भएको मजदुरहरूको अनुभव छ । १० वर्षको अवधिमा खानीमा पाँच जनाको मृत्यु भइसकेको छ, धेरै जना घाइते भएका छन् । घोराही–१९ तोसस्थित खानीमा स्थानीय दुर्गे राना र चन्द्रबहादुर विकको ज्यान गयो । यसैगरी बोक्सिनी भीरको खानीमा रोल्पा रुन्टीगढीका टीका डाँगी र फलितेखानीमा स्थानीय भीमकान्त रावतले ज्यान गुमाए । सोमबार मोहनलालको मृत्यु भयो । खानीमा चार जना गम्भीर घाइते भएका थिए । घोराही–१९ राम्चेका बलबहादुर विक र वसन्त पुरी तथा बयालीकोटका गमे रोका र रामसिं घर्ती खानीभित्रै च्यापिएर गम्भीर घाइते भएका छन् ।
आफ्नै आँखाअगाडि सँगै काम गरिरहेका साथीको मृत्यु भएपछि अन्यले काम छाड्ने निधो गरेका छन् । अहिले खानी सुनसान छ । कोही पनि काममा गएका छैनन् । ‘छेउमै काम गरिरहेका साथीको मृत्यु भयो । बल्ल भाग्यले बाँचियो, अब काम गर्न सकिँदैन,’ मोहनलालसँगै काम गरेका शोभाकर सुनारले भने, ‘यस्तो खतरा काम गरिँदैन अब । अरू नै केही काम गरेर ज्यान पाल्ने हो । खानीमा पस्ने काम गरिँदैन ।’ मोहनलालका अर्का साथी रिखुराम घर्ती पनि काम नगर्ने सोचमा पुगेका छन् । ‘यो कोइलाखानी होइन, काल नै हो । जानीजानी कालको मुखमा किन पस्नू ?,’ उनले भने, ‘अब खानीमा पस्ने काम गरिँदैन । अहिले त खानी नजिक जान पनि डर लाग्छ ।’
मजदुरहरूका लागि सुरक्षाको कुनै उपाय नभएकाले ज्यानको जोखिम बढिरहेको घोराही–१९ का वडाध्यक्ष हर्क घर्तीले बताए । ‘भित्र काम गर्नेका लागि हेलमेट र बुटजस्ता कुनै पनि सुरक्षा सामग्रीसहितको उपाय अपनाइएको छैन । हामीले कोइला निकासी गर्ने कम्पनीलाई पटक–पटक भन्दा पनि अटेर गरिरहेका छन्,’ उनले भने, ‘कुनै पनि वैज्ञानिक मापदण्डबिना कोइला खनिन्छ । कतिबेला कहाँ भत्किन्छ, केही पनि थाहा हुँदैन ।’ मजदुरलाई सुरक्षासम्बन्धी तालिम दिएर वैज्ञानिक तरिकाले मात्रै कोइला निकाल्न सकेमा काम गर्दा सुरक्षा हुन सक्ने उनले बताए । मृतक मोहनलालका परिवारलाई बिमाबाट ५ लाख र कोइला उत्खननको काम गरिरहेको सत्यसाई कोल उद्योगबाट ५ लाख रुपैयाँ दिने सहमति गराएको उनले बताए । मृत्युपछि क्षतिपूर्ति दिनेमा कम्पनी तयार भए पनि अग्रिम सुरक्षामा ध्यान नपुगेको घर्तीले बताए । अब सुरक्षाका मापदण्ड नअपनाई खानीमा काम सुरु नगर्न कम्पनीलाई आग्रह गरेको उनले बताए ।
सुरक्षासम्बन्धी खासै उपकरण प्रयोग नभए पनि मजदुरहरूले अनुभवका आधारमा काम गर्ने गरेको सत्यसाई कोल उद्योगका खानी इन्चार्ज लुमाकान्त बुढाथोकीले बताए । ‘यो खानीमा सामान्य चोटपटक लागे पनि मान्छेको मृत्यु भएको थिएन । यो पहिलो घटना हो,’ उनले भने, ‘खानीभित्र काम गर्ने १५ जनाको बिमा गरिएको हुन्छ । सुरक्षित तरिकाले काम गर्न सिकाइएको हुन्छ । कहिलेकाहीं दुर्घटना हुन्छ । काम नै त्यस्तै खालको छ ।’
नियमनमा उदासीनता
खानीभित्र बाटो खोल्दा र थप कोइला खोज्न ढुंगा–चट्टान काट्नुपर्छ । कामदारले छिनो र हतौडाको भरमा बाटो खोल्ने गर्छन् । सुरुङभित्र लाइट बालेर, निहुरिएर हिँड्नुपर्छ । घोराहीको उत्तरी पहाडमा कोइलाको खानी छ । घोराही–१९ कै तोसमा तीनवटा खानी छन् । यसमा २१ जना कामदार सुरुङभित्र खन्ने र ३२ जनाले बोक्ने काम गर्छन् । एक क्विन्टल कोइला खन्दा १ सय ४० रुपैयाँ पाइने र दिनमा एक जनाले ८ देखि १० क्विन्टलसम्म खन्ने गरेको तिर्साङका वसन्त विकले बताए । बोक्नेले एक क्विन्टलको ७० रुपैयाँ पाउँछन् ।
जिल्लामा १२ ठाउँबाट कोइला उत्खनन हुन्छ । घोराही–१९ को बोल्दी, राम्चे, बजारपानी र तोस तथा बंगलाचुली गाउँपालिकाको मर्पेस, छिपन, बोक्सिनी भीर, ठाडा, ज्यामुरे र भुल्केमा एक/एक कोइलाखानी छन् । बंगलाचुलीको टाकुरामा दुई खानी छन् । राम्रो गुणस्तरको कोइला विद्युत् निकाल्न, खाना पकाउन र विभिन्न उद्योगमा इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ । दाङमा पाँचवटा कम्पनीले कोइला उत्खनन गरिरहेका छन् । एक कम्पनीले वार्षिक १ हजार २ सय मेट्रिक टन उत्पादन गर्ने गरेको सम्बन्धित कम्पनीहरूले जानकारी दिएका छन् । जिल्लामा २५ वर्षअघि कोइला उत्खनन सुरु भएको हो ।
कोइलाखानीभित्र कसरी काम हुन्छ भन्नेबारे नियमन हुन सकेको छैन । खानी तथा खनिज पदार्थ नियमावली २०५६ मा उत्खनन गर्दा पालना गर्नुपर्ने सर्तअन्तर्गत दफा १९ को उपदफा ६ मा उत्खनन कार्य गर्दा खोलेको टोपा, टनेल, खाल्टा इत्यादिमा कुनै दुर्घटना हुन नपाउने गरी सुरक्षाको व्यवस्था गर्नुपर्ने उल्लेख छ । दफा ३८ मा खानीको जिल्ला विकास समितिले अनुगमन गर्नुपर्ने व्यवस्था छ तर अहिलेसम्म अनुगमन हुन सकेको छैन । दफा ३८ को उपदफा १ मा अनुगमन समितिले प्रचलित ऐन, नियम र मापदण्डअनुसार काम नभए कम्पनीलाई आवश्यक निर्देशन दिन, उत्खनन कार्य रोक्न र अनुमतिपत्र खारेज गर्न सक्नेसम्मको अधिकार दिइएको छ । कोइलाखानीको अनुगमन गर्ने जिम्मेवारी र अधिकार पाएको जिल्ला समन्वय समितिले हालसम्म अनुगमनसमेत गरेको छैन । खानीमा भएको जोखिम तथा क्षतिबारे जानकारी पाएको र अब अनुगमनमा जाने योजना बनाइरहेको जिसस प्रमुख जितेन्द्रमान नेपालीले बताए । ‘यसअघि पनि कोइलाखानीको समस्याबारे समाचार आएको थियो । त्यतिबेला पनि जाने प्रयास गरेका थियौं तर अन्य व्यस्तताले वातावरण मिलेन,’ उनले भने, ‘अब हामी चाँडै खानीको अनुगमन गरी उचित नियमन गर्छौं । खानीको जोखिम न्यूनीकरण गर्न जरुरी छ । यसमा हामी गम्भीर छौं ।’

मुख्य पृष्ठ

कट्टेलको दाबीमाथि कस्तो आउला सर्वोच्चको फैसला ?

- कृष्ण ज्ञवाली

(काठमाडौं) - प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैरकानुनी रूपमा नक्कल गरिएको भन्ने अर्को दाबीसहित सर्वोच्च अदालतमा परेको मुद्दाको निरूपण एक साताभित्रै हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नाम जुधाएर नेपाल कम्युनिस्ट पार्टीमा त्यसैको छोटकरी नाम नेकपा थपेर अर्को दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै दायर गरेको मुद्दामा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आगामी बिहीबार निर्णय सुनाउने भएको हो । हालको नेकपा विवादलाई पनि प्रभाव पार्ने भएकाले यो मुद्दालाई महत्त्वका साथ हेरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलको दाबीअनुसार उनले नेतृत्व गरेको दल २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीको संक्षिप्त नाम नेकपा भनी जनाइएको थियो । निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता आयोगमा कायमै थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले २०७५ जेठ ३ मा मदन–आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी एकीकरण गरे र निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढाए । यसअघि नै नेपाल कम्युनिस्ट पार्टीको नाममा दल दर्ता भएको भन्दै आयोगले एकीकरण भई बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भनी २०७५ जेठ २३ मा दर्ता गरेको थियो ।
त्यसपछि कट्टेल नेतृत्वको नेकपाले आफ्नो दलको नामसँग जुधाएर अर्को दल दर्ता गर्ने काम कानुनविपरीत भएको निष्कर्षसहित कानुनी उपचार थाल्ने निर्णय गरेको हो । कट्टेलले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पनि आयोगको निर्णय गलत भनी दाबी गरेका छन् । उक्त ऐनको दफा ६ मा दल दर्ता नहुने सर्तहरू राखिएका छन् । उपदफा १ को ‘च’ मा भनिएको छ, ‘दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा दल दर्ता हुन नसक्ने ।’
नेपाल कम्युनिस्ट पार्टीले सुरुमा निर्वाचन आयोगमा नेकपा (नेकपा) को दर्ता बदर गर्न माग राखी निवेदन दिएको थियो । नेकपाको नामसँग मूल नाम अनि संक्षिप्त नाम र कोष्ठभित्रको नाम मिल्न गएको भन्दै दर्ता बदरका लागि दिएको निवेदनमा निर्वाचन आयोगले २०७५ कात्तिक ९ मा निवेदक (कट्टेल समूह) को दाबी नपुग्ने निर्णय गर्‍यो । तत्कालीन प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहित आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरप्रसाद पौड्यालको इजलासले गरेको निर्णयमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अलग–अलग नामका दल भएका हुँदा आयोगमा दर्ता कायम रहेको दलसँग मिल्ने नदेखिएकाले थप केही गरिरहनुपरेन ।’ त्यसपछि कट्टेल नेतृत्वको नेकपा आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गयो । नेकपाले आफ्नो दलको मूल नामसँग नयाँ दर्ता भएको दलको नाम र कोष्ठभित्रको नाम पनि मिलेकाले बदर गरिपाऊँ भन्ने निवेदन दिएकामा त्यसको सुनुवाइ नभएकाले निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने दाबी गरेको थियो ।

‘नागरिकले राजनीतिक दलमार्फत आफूमा निहित सार्वभौमसत्ता संसद्मार्फत अभिव्यक्त गर्ने भएकाले नागरिकका मौलिक हक, राजनीतिक दल र मसमेतको मौलिक हकमा निर्वाचन आयोगको निर्णयले बन्देज लाग्न गएको छ,’ नेकपाले सर्वोच्चमा दिएको निवेदनमा छ, ‘नेकपाको संवैधानिक एवं कानुनी हक संरक्षण गरी संसदीय मर्यादासमेत कायम गरिपाऊँ ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा रहेकाले त्यसको प्रभावमा गैरकानुनी क्रियाकलाप गरेको र त्यसबाट आफ्नो पुरानो दलको अस्तित्व मेटाउने काम भएको उनले आरोप लगाएका थिए । यो मुद्दाको जवाफमा अहिलेको विवादित नेकपाले ‘मूल रूपमा नाम मिले पनि कोष्ठमा फरक परेकाले नाम जुधेको भन्न नमिल्ने’ दाबी गरेको थियो । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका नाममा धेरै दलहरू दर्ता भएकाले पछाडिको कोष्ठ (पुच्छर) फरक भएकाले नाम जुधेको भन्न नमिल्ने जवाफ दिएको छ । ‘सातवटा दलको नाम नेपाल कम्युनिस्ट पार्टी थियो र कोष्ठभित्र नाम अलग–अलग थियो,’ पछिल्लो संविधानसभा निर्वाचनका दौरान दर्ता भएका दलबारे जवाफमा आयोगले भनेको छ, ‘निवेदकको नाम नेपाल कम्युनिस्ट पार्टी हो भने पछि एकीकरणबाट बनेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । कोष्ठभित्र रहेको (ने क पा) छुट्टै पहिचान खुल्ने आधार हो ।’ निर्वाचन आयोगले यही तर्कका आधारमा आफ्नो निर्णय सदर हुनुपर्ने माग गरेको छ ।

मुख्य पृष्ठ

सत्तारूढ दलको नाम खारेज भए विवाद झन् जटिल

- राजेश मिश्र

(काठमाडौं) - सर्वोच्च अदालतले ऋषिराम कट्टेलको पक्षमा फैसला दिए सत्तारूढ नेकपाको विवाद थप जटिल बन्ने भएको छ । गत पुस ५ गतेयता नेकपामाथि केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले दाबी गर्दै आएका छन् । पार्टीका दुई अध्यक्ष ओली र दाहालले नेकपाकै नामबाट अलग–अलग दलको अभ्यास गरिरहेका छन् । आधिकारिकतासम्बन्धी विवादलाई निर्वाचन आयोगले निरूपण नगरिदिँदा एउटै दलको नामबाट दुई पक्ष अस्तित्वमा रहेका हुन् । यहीबीचमा दुई वर्षदेखि विचाराधीन मुद्दामा सर्वोच्चले गर्न लागेको फैसलाप्रति ओली र दाहाल–नेपाल दुवै समूहमा कौतूहल छ ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले एकीकरण गरेपछि दललाई नेपाल कम्युनिस्ट पार्टी नामकरण गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी नामको दल भने पहिल्यै दर्ता हुनाले आयोगले ओली–दाहाल नेतृत्वको दलको नाम कोष्ठभित्र नेकपा रहने गरी दर्ता गरिदिएको थियो । पहिल्यैदेखि आयोगबाट छोटकरीमा नेकपा लेख्ने अधिकारसहितको नाम पाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलले एउटै नामको अर्को दल दर्ता गर्न नमिल्ने भन्दै ओली–दाहालले पाएको नाम खारेजीको मागदाबी गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । ‘कोष्ठ मात्रै राखेर नामलाई फरक देखाउने कोसिस गरिएको छ । अदालतले त्यसलाई खारेज गर्नेमा विश्वस्त छु,’ कट्टेलले कान्तिपुरसँग भने । राजनीतिक
दलसम्बन्धी ऐनमा आयोगमा पहिलेदेखि दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने गरी अर्को दल दर्ता गर्न नसकिने प्रावधान छ । कट्टेलले आयोग र नेकपालाई विपक्षी बनाएका छन् ।
आयोगले गरेको निर्णयलाई खारेज गर्दै सर्वोच्चले कट्टेलको पक्षमा फैसला गरिदिए नेकपाको विवाद नयाँ कोर्समा प्रवेश गर्नेछ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल पहिलेदेखि विवादित नेकपाको नामलाई लिएर पनि समस्या उत्पन्न भए विवाद थप पेचिलो बन्ने बताउँछन् । ‘विवाद बिल्कुलै नयाँ दिशामा जान्छ । त्यसले परिणति कस्तो दिन्छ र कसरी टुंगिन्छ, कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘दललाई नामविहीन त राख्न सकिन्नँ, नयाँ नाम दिनुपर्ने हुन्छ । त्यो अवस्थामा फेरि दुई जना अध्यक्ष ओली र दाहालको सहमति चाहिन्छ । त्यो कति सम्भव हुन्छ ?’ सर्वोच्चले आयोगले गरेको निर्णयलाई नै सदर गरिदिए नेकपाको विवाद अहिलेकै जस्तो अवस्थामा रहन्छ । अहिलेको आधिकारिकतासम्बन्धी विवादको टुंगो ढिलोचाँडो आयोगले दिन्छ । तर नाम नै खारेजीमा परेको अवस्थामा नेकपाका दुवै पक्ष अझ विशेषगरी दाहाल–नेपाल पक्षलाई बढी समस्या पर्ने देखिन्छ । त्यही भएर पनि दाहाल–नेपाल पक्षका केही नेताले केही दिन अगाडि कट्टेललाई भेटेर मुद्दा फिर्ता लिइदिन आग्रह गरेका थिए । तर कट्टेलले त्यसलाई अस्विकार गरे । अर्कोतिर, अहिलेको अवस्थामा निर्णय दिन नसकेको आयोग थप दबाबमा पर्नेछ ।
पूर्वप्रमुख आयुक्त पोखरेल अहिले आयोगमा विचाराधीन रहेको नेकपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो नलागेकै कारण थप जटिलता आउने सम्भावना देख्छन् । ‘बादलमा पत्रमाथि पत्र भएजस्तै नेकपाको विवाद बन्नेछ,’ उनले भने, ‘नाम नै खारेजी भएको अवस्थामा पहिले एउटा नाम दिनुपर्‍यो, अनि मात्र दुइटा हुने दिशामा जान सक्छ ।’

उनले भनेजस्तै नाम खारेजी भएको अवस्थामा ओली र दाहालले एकैसाथ बसेर अर्को नाम रोजेर आयोगमा पठाउने सम्भावना अत्यन्तै न्यून छ । त्यो अवस्था भनेको ओली–दाहाल दुवै पक्ष दलविहीन हुनु हो ।
अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव पनि सर्वोच्चको फैसला आयोगको विपक्षमा आए नेकपाको विवाद अझ लामो अवधिसम्म जान सक्ने बताउँछन् । ‘आयोगले आधिकारिकताको विवाद टुंगो नलगाउँदा अहिले पनि दुई पक्ष दलविहीन जस्तै अवस्थामा छन् । दुवैले आफूलाई दलको दाबी गरे पनि उनीहरूले गरेका कामकारबाहीले आधिकारिकता पाउने अवस्था छैन,’ उनले भने, ‘नामसमेत खारेज हुने स्थितिमा अन्योलपूर्ण अवस्था निर्माण हुन्छ ।’ अदालतले नाम खारेज गरेको अवस्थामा शून्यमा नराख्ने र एउटा नाम छान्ने अवसर ओली र दाहाललाई दिने उनले उल्लेख गरे । त्यो अवस्थामा आयोगले ओली र दाहाल दुवै जनालाई संयुक्त रूपमा नाम दिनलाई पत्राचार गर्नेछ ।
नाम परिवर्तन गर्नुपरेपछि पार्टीको विधान नै संशोधन गर्नुपर्छ । त्यसका लागि ओली–दाहाल दुवै भएर केन्द्रीय कमिटीको दुई तिहाइबाट निर्णय गर्नुपर्छ । यसअघि नै आयोग आफैंले ओली र दाहाल दुवैको संयुक्त हस्ताक्षर भएको पत्रलाई मात्र आधिकारिक मान्ने निर्णय दिइसकेकाले नामका लागि पनि एउटाको हस्ताक्षर आयोगले स्विकार्दैन । आयोगका एक जना आयुक्तले भने, ‘एउटा पक्षलाई नेकपाको आधिकारिकता दिइनसकेकाले त्यसपछिको प्रक्रिया आयोग स्वयंकै लागि जटिल हुने निश्चित छ ।’
आयोगले गत माघ ११ मा ओली र दाहाल–नेपाल दुवै पक्षका निर्णयलाई अस्वीकार गर्दै दल एउटै रहेको निर्णय दिएको थियो । त्यस निर्णयउपर चित्त नबुझेर दाहाल–नेपाल पक्षले माघ २० मा दलको मान्यता आफूहरूले पाउनुपर्ने मागदाबी गर्दै आयोगमा निवेदन दिए । एक महिना पुग्न लाग्दासम्म आयोग उक्त निवेदनबारे केही बोलेको छैन ।
पूर्वप्रमुख आयुक्त पोखरेल नेकपाको विवादका सम्बन्धमा आयोग अनिर्णयको बन्दी बन्दा सिंगो मुलुकलाई नै असर परेको बताउँछन् । ‘विवाद निरूपण गरिदिएको भए भोलि अदालतबाट नाम खारेजीको फैसला आउँदा पनि त्यसलाई आयोगले सहजै एउटा कोर्समा लान सक्थ्यो,’ उनले भने, ‘तर अहिलेको अवस्थामा केही अनुमान लगाउन सकिँदैन । अदालतले कस्तो आदेश गर्छ, त्यसमा भर पर्ने भयो । नाम खारेज भएको अवस्थामा के गर्ने भनेर कानुनले पनि बोलेको छैन । त्यही भएर नाम खारेज भए नेकपाको विवाद कुन दिशामा जान्छ भन्ने अनिश्चित छ ।’
अदालतले नाम खारेज गरे नयाँ नामका लागि आयोगले प्रक्रिया बढाउन सक्ने आयोग स्रोतले उल्लेख गरेको छ । ‘नाम खारेज नभएको अवस्थामा अहिलेकै जस्तो रहिरहने भयो, नाम खारेज भयो भने निश्चित समय दिएर आयोगले नेकपासँग नयाँ नाम प्रस्ताव गर्न भन्नेछ,’ एक आयुक्तले भने, ‘नेकपासँग भन्नुको अर्थ ओली र दाहाल अध्यक्ष रहेको सिंगो दललाई मान्ने हो । उहाँहरूले संयुक्त रूपमा नाम दिएको अवस्थामा सहज हुने भयो । तर, त्यो परिस्थिति देखिँदैन । त्यसपछिको अवस्थामा दुइटै समूह, कानुन विज्ञ र पूर्वप्रमुख आयुक्तहरूसँगको परामर्शमा आयोग बढ्न सक्छ ।’ कुनै दलले पाइसकेको नाम नै अदालतले खारेज गरेको स्थितिको सामना अहिलेसम्म आयोगले गर्नु नपरेकाले त्यो नयाँ नै हुने उनले उल्लेख गरे । ‘अझ पहिलेदेखि नै दुई टुक्रामा विभाजित दलको नाम खारेजीको अवस्था चुनौतीपूर्ण हुने नै भयो,’ उनले थपे ।
पूर्वप्रमुख आयुक्त यादवले अदालतको आदेश निवेदकको पक्षमा आएर नामको विवाद लामो समयसम्म रहे धेरैतिर असर पर्ने बताए । ‘सरकार वा सांसदहरू नै कुन दलको भन्ने प्रश्न उठ्नेछ,’ उनले भने, ‘दलभित्र विवाद छ, दुई समूह भइसकेका छन् । विवादको औपचारिक जानकारी छ । तर पनि त्यस विषयमा आयोगले केही नबोल्नु, निर्णय नदिनुले समस्यामाथि समस्या थपिने निश्चित छ ।’ ओली र दाहाल–नेपाल पक्षले संयुक्त रूपमा एउटा नाम नदिएर अलग–अलग नाम दिएको अवस्थामा पनि आयोगलाई निर्णय लिने समस्या हुनेछ । त्यस अवस्थामा आयोग आफैंले कुनै नाम दिने सम्भावना पनि रहने आयोग स्रोतले उल्लेख गरेको छ । पुरानो अर्थात् २०७५ जेठ ३ अघिको अवस्थामा फर्किने स्थिति पनि रहने छैन ।
पूर्वप्रमुख आयुक्त पोखरेलले पुराना विषय अस्तित्वमै नरहेकाले त्यसमा फर्किने सम्भावना नै नरहने बताए । एकीकरणपूर्वको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुइटै दल अरूले दर्ता गराइसकेका छन् । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा बहुमत नरहेकाले ओली पक्षले त्यसै पनि नेकपाको आधिकारिकता नपाउने देखिइसकेको छ । त्यो अवस्थामा नेकपा नाम खारेज भइदिए आफूहरूलाई लाभ हुने हिसाबकिताब उक्त पक्षले निकालिरहेको छ । नेकपा (एमाले) पार्टी आफ्ना समर्थकबाटै पहिल्यै दर्ता गराइसकेकाले ओली पक्ष त्यसैलाई ब्युँताएर जाने रणनीतिमा रहेको आयोग स्रोतले उल्लेख गरेको छ । ओली पक्षका कानुन व्यवसायी बाबुराम दाहाल अदालतको फैसला आफूहरूको विपक्षमा आए सहमतिमै नयाँ नाम दिनुपर्ने अवस्था आउने बताउँछन् ।
‘नयाँ नाम दिन नसकिएको अवस्थामा स्वाभाविक रूपमा कोही पनि पार्टीविहीन भएर बस्न सक्दैन,’ उनले भने, ‘त्यसबारे आयोगले केही निर्णय दिनैपर्छ । थाहा छैन, के हुन्छ । पुरानो अवस्थामा पनि फर्किन सक्छ ।’ उनले अदालतमा प्रतिवाद गरेको र नाम अलग–अलग नै रहेको दाबीसमेत गरे । दाहाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले दुईवटा पार्टीको नाम फरक–फरक नै रहेकाले अदालतको आदेश स्वाभाविक रूपमा त्यही ढंगले आउने दाबी गरे । ‘नेपाल कम्युनिस्ट पार्टी नामका कैयौं दल आयोगमा दर्ता छन् । सबैको कोष्ठकभित्र केही न केही भिन्न नाम लेखिएको छ । यहाँ पनि त्यही अवस्था छ,’ उनले भने । सुरुमा नेपाल कम्युनिस्ट पार्टीको मुनि अन्डरलाइन हालेर पठाउँदा आयोगले त्यसलाई हटाएर कोष्ठकमा नेकपा लेखेर पार्टी दर्ता गरेको उनले बताए ।

 

Page 2
समाचार

संसद् अधिवेशन २३ गते बोलाउन सिफारिस

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सरकारले आउँदो फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । सर्वोच्च अदालतले गत ११ गते प्रतिनिधिसभा विघटन बदर गरेपछि १३ दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक अवस्था थियो । त्यसैले अदालतले दिएको समयसीमाभित्र सरकारले अधिवेशन बोलाउने निर्णय गरेको हो ।

समाचार

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । मस्तिष्कघात भएपछि थापाथलीको नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएका ५५ वर्षीय जोशीलाई भेन्टिलेटरमा उपचार भइरहेको छ । कोमामा रहेका उनको मस्तिष्कको आधा भागले मात्र काम गरिरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
उनको मस्तिष्कको दायाँ भागमा रक्तस्राव (हेमरेज) भएको हो । रगत मस्तिष्कको बीच भागसँगै अरू ठाउँमा फैलिएको चिकित्सकको भनाइ छ । अस्पतालले उनको प्रत्येक घण्टाको अवस्था हेरेर उपचार जारी राखेको छ । बिहीबार राति साढे १२ बजे देब्रे हात बाउँडिएपछि कमजोरी अनुभव गरेका जोशीलाई परिवारले तत्कालै वीर अस्पताल लगेका थिए । वीर पुर्‍याउँदा उनी अचेत भइसकेको स्नायु शल्य चिकित्सक डा. राजीव झाले बताए ।
वीरमा गरिएको सिटीस्क्यानमा टाउकोमा धेरै रगत जमेको देखिएको थियो । अवस्था गम्भीर देखिएपछि चिकित्सकहरूको सल्लाहमा नर्भिक ल्याइएको डा. झाले बताए । जोशीलाई पटकपटक वान्ता भएको र वान्ता फोक्सोमा पुगेको देखिएको थियो । यसरी सास फर्न गाह्रो भएपछि हाल पाइप राखेर श्वासप्रस्वासको प्रक्रिया (इमर्जेन्सी इन्कुभेसन) अपनाइएको छ । जोशीको आँखाको नानी एकातिर फुलेको देखिएको औंल्याउँदै डा. झाले भने, ‘यो राम्रो संकेत होइन, एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको बुझ्दा हुन्छ ।’ शल्यक्रिया गरेर टाउकामा भएको दबाबमा कमी ल्याउँदा हाल आँखा फुलेकाले नानीको आकारसमेत सानो हुन थालेको छ । जोशीको टाउकाको बीच भागमा पानी जम्दै गरेको सिटी स्क्यानमा देखिएको छ ।

समाचार

कंक्रिटमा बज्रियो अभियन्ताको घन

- दामोदर न्यौपाने

(काठमाडौं) - कमलपोखरीको बीचमा लगाइएको कंक्रिट शुक्रबार नागरिक अभियन्ता टोलीले भत्काएको छ । ऐतिहासिक र सांस्कृतिक महत्त्वको कमलपोखरीमा काठमाडौं महानगरपालिकाले सौन्दर्यकरण गर्ने नाममा कंक्रिटका संरचना बनाउन सुरु गरेको भन्दै उनीहरूले घन प्रहार गरी भत्काएका हुन् ।
‘हामीले विरोध गर्दागर्दै जबर्जस्ती पोखरीको बीचमा कंक्रिट राखियो,’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘शिष्ट तरिकाले भन्दा महानगरले नमानेपछि माइतीघरमा जम्मा भएका नागरिक आन्दोलनका अगुवाले भत्काइदिए । यो सांकेतिक विरोध हो । महानगर घेराउ गर्नेलगायत कार्यक्रम घोषणा गरेका छौं ।’
महानगरले पोखरीभित्र पाँच ठाउँमा ढलान गर्न थालेको थियो । पोखरीको बीचमा र अरू चार कुनामा कंक्रिटको कमल बनाउने महानगरको योजना छ । महानगर सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने पोखरीको बीचमा पानीको फोहोरा दिनका लागि कंक्रिट राखिएको दाबी गरे । ‘पानीको फोहोरा दिने संरचनाचाहिँ कमलको आकारमा बनाउन लागिएको हो, कुरा अलि बुझाउन सकेनौं हामीले,’ उनले भने, ‘पानीको फोहोरा दिने पाइप अड्याउन ढलान गरेका हौं ।’
बस्नेतले कमल नराख्ने भने पनि पोखरीको नक्सामा बीचमा कमलको फूल देखाइएको छ । कंक्रिटको कमल राख्नैका लागि पोखरीसमेत सुकाइएको छ । पोखरीमा कंक्रिट राख्नु र पानी सुकाउनु प्राचीन स्मारक संरक्षण ऐनविपरीत छ । ऐन मिचेको भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट दर्ता भएको छ । सर्वोच्चले पोखरीको अध्ययन गरेर प्रतिवेदन बुझाउन आदेश दिएको छ । महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले पानी सुकाएकोप्रति असहमति राखेकी छन् । ‘पानी सुकाउनै पर्दैनथ्यो,’ उनले भनिन्, ‘पानीमा त माछालगायत जीवजन्तु पनि बस्छन् नि, त्यसको विषयमा सोच्नु पर्दैन ?’ उनले बजेट छुट्याउने विषयमा छलफल भए पनि अरू विषय आफूलाई थाहा नदिएको बताइन् ।
गत महिना पुरातत्त्व विभागले मौलिकता जोगाउन पत्र लेखेकै राति महानगरले पोखरीमा डोजर छिराएको थियो । डोजर लगाएर माटो निकाल्दा पानी नअडिने भन्दै संरक्षणकर्मीले विरोध गरे । ‘माटो झिक्यो भने पनि पानी अडिँदैन, सुकाएर धाँजा फाट्यो भने पनि अडिँदैन,’ आर्किटेक्ट सुसन वैद्यले भने, ‘रानीपोखरीको जस्तो फेरि कालोमाटो छापेर मात्र पानी अडिन्छ तर कमलपोखरीमा माटो छाप्ने गरी लागत इस्टिमेट गरिएको छैन ।’
३५ रोपनी क्षेत्रफलमा खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट, बालबालिका खेल्ने ठाउँलगायत संरचनासहितको कमलपोखरी पार्क बनाउने महानगरको योजना छ । पोखरीको घाटमा कंक्रिट राख्दा पानी पुनर्भरण व्यवस्था अवरुद्ध हुने भन्दै विज्ञले आपत्ति जनाएका छन् । ‘पोखरीको छेउछाउमा कंक्रिट राख्दा पानी पुनर्भरण गर्ने प्रणाली बिग्रिन्छ,’ पानीविज्ञ अजय दीक्षितले भने, ‘हरेक ठाउँमा सहरीकरण बढेको छ । पानीका यस्ता मौलिक प्रणाली जोगाउनुपर्छ ।’ पोखरीको बीचभागमा जान मिल्ने गरी पुलसमेत बनाउन लागिएको छ । पुल, वरिपरिको घाटलगायत निर्माण गर्दा पोखरीको आकार घट्ने भएको छ । सहरी वास्तुकलाविद् प्राध्यापक सुदर्शनराज तिवारीले पोखरीको महत्त्वपूर्ण पाटो नै पर्यावरण भएको बताए ।
पोखरीमा गहिरो धाँजा फाट्यो भने पछि पानी अड्याउन नसकिने पोखरी तथा ढुंगेधाराविज्ञ सुशील श्रेष्ठको भनाइ छ । महानगरले म्याद थप गरी चैतसम्ममा पुनर्निर्माण सक्ने लक्ष्य राखेको छ ।

Page 3
समाचार

संसद्भित्र अब के हुन्छ ?

- बिनु सुवेदी

(काठमाडौं) - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदरको फैसला गर्नेबित्तिकै धेरैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले खुरुक्कै राजीनामा दिन्छन् । ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको निर्णयविपरीत फैसला आए ओलीले स्वाभाविक रूपमा नैतिकताका आधारमा राजीनामा दिने सार्वजनिक अभिव्यक्ति दिएका पनि थिए । तर ज्ञवालीले भनेको ‘नैतिकता’ बचाएर ओलीले राजीनामा दिएनन्, बरु सर्वोच्च अदालतले भनेअनुसार १३ दिनमै अर्थात् आउँदो फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेका छन् । उत्पन्न जुनसुकै परिस्थितिलाई प्रतिनिधिसभाभित्रै सामना गर्ने ओलीले भनिसकेपछि संसद्भित्रको खेलोमेलो जटिल बन्ने देखिन्छ । कसरी ? कारणको सुरुवात नेकपाको संसदीय दलभित्रैबाट गरौं ।
संघीय संसद्का दुवै सदनका सांसदले संसदीय दलको नेता छान्ने कानुनी प्रावधान छ । नेकपामा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र तीन जना मनोनीतबाहेक प्रतिनिधिसभाका १ सय ७२ र राष्ट्रिय सभाका ४५ गरी २ सय १७ जनालाई संसदीय दलको नेता चुन्ने अधिकार छ । कानुनतः अहिले संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली छन् । ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउन संसदीय दलको नेताबाट हटाउने विकल्प पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षीय नेकपाका नेताहरूका लागि सुल्टो र सजिलो हो । त्यसका लागि २५ प्रतिशत सांसदले बैठक राख्न माग गर्दै दलका उपनेतालाई निवेदन दिनुपर्छ । सांसदहरूले निवेदन दिएपछि उपनेताले प्रमुख सचेतकमार्फत संसदीय दलको बैठक बोलाउनैपर्छ, बोलाउँदिन भन्न नेकपाकै संसदीय दलको विधानअनुसार पनि मिल्दैन ।
वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य संसदीय दलभित्र हुने निर्णयले नेकपा र भावी सरकारबारे महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् । त्यसो हुन सकेन भने परिस्थिति जटिल हुने उनको भनाइ छ । ‘ओलीले राजीनामा दिएको भए त समस्या थिएन । उहाँले राजीनामा नदिएपछि संसदीय दलको बैठक बोलाएर त्यहींभित्र अविश्वासको प्रस्ताव पारित गर्नुपर्‍यो, नभएपछि संसद्मा अविश्वासको प्रस्ताव पारित गर्नुपर्‍यो । तेस्रो विकल्प छैन,’ शाक्यले कान्तिपुरसँग भने, ‘संसदीय दलको विधानअनुसार दलको एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनेर लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्छन्, लिखित रूपमा सही गरेरै उपनेतालाई सूचना दिए १५ दिनभित्र बैठक बोलाउनुपर्छ, उसले बोलाउँदिन भन्न पाइँदैन । संसदीय दलको बैठकबाट ओलीलाई हटाए भने त्यहीं सकियो, संसदीय दलको बैठकबाट उनलाई हटाउन सकेनन् भने अप्ठ्यारो अवस्था आउँछ ।’
राजनीतिक हिसाबले दाहाल–नेपाल पक्षीय नेताका लागि ओलीलाई दलको नेताबाट हटाउने गरी दलको बैठक बोलाउन आग्रह गर्दै निवेदन दिन कठिन छ । किनभने उनीहरूले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेका छन् । प्रधानमन्त्रीका कानुन विज्ञ सल्लाहकार बाबुराम दाहाल संसदीय दलको बैठकको वैधताका लागि संसदीय दल नेता या उपनेताले नै निर्णय गर्नुपर्ने बताउँछन् । ‘संसदीय दलको नेता हटाउने प्रक्रियामा उहाँहरू जानुहुन्छ भने प्रधानमन्त्रीज्यूलाई साधारण सदस्यसमेत नरहेन गरी उहाँहरूले गर्नुभएको भनिएको कारबाही फिर्ता गरेर मात्रै निवेदन दिन मिल्छ,’ दाहालले भने, ‘पार्टीको साधारण सदस्यसमेत नरहने भन्दै कारबाही गरेका प्रधानमन्त्रीलाई फेरि नेता मानेर संसदीय दलबाट हटाइपाउँ भन्न उहाँहरू आउनुहोला र ?’
संसदीय दलबाट हटाउनकै लागि भए पनि फेरि एकपटक उनै ओलीलाई नेता मान्नुपर्ने बाध्यात्मक अवस्था अहिले दाहाल–नेपालका सामुन्नेमा छ । यता ओलीले फेरि संसदीय खेल सुरु गरिसकेका छन् । उनले दलको विधानअनुसार नै प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइवरी विशाल भट्टराईलाई नियुक्त गरेका छन् । यसपछि अहिलेको अवस्थामा प्रतिनिधिसभाको संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक सबै ओली पक्षीय छन् । अहिलेको परिस्थिति नियाल्दा निकट भविष्यमै देखिने एउटा दृश्य के हो भने दाहाल–नेपाल समूहका सांसदले ओलीलाई दलबाट हटाइपाउँ भनेर उपनेतासमक्ष निवेदन दिने नै हो । त्यसका लागि यो समूहसँग संसदीय दलमा बहुमत पनि छ । तर दुई पक्षीय सांसद संख्याको अन्तर त्यति फरक पनि छैन कि स्पष्टै बहुमत छ भनेर दाहाल–नेपाल पक्षीय नेता ढुक्क हुन सकून् ।
यस्तो बेला ओलीले अन्तिम अस्त्र प्रयोग गर्छन् । यसअघि ओलीविरुद्धको अविश्वासको प्रस्तावमा सही गरेका सांसदमध्ये ३ जनालाई उनले मन्त्री पद दिएर लगिसकेका छन् । अरू दुई जना पनि दाहाल–नेपाल छाडेर ओलीतिर लागिसकेका छन् । उनले पुराना केही मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने या सत्ता र शक्तिमै रहेका कारण ओलीले अरू आर्थिक प्रलोभनमा पार्ने उपाय पनि छँदै छ । संसदीय दलभित्रै ओलीविरुद्धको अविश्वास प्रस्ताव राख्न र संसदीय दलको नयाँ नेता बनाउन दाहाल–नेपाल समूहले अहिले आफूसँग रहेका नेतालाई टिकाइराख्नु सबैभन्दा ठूलो चुनौती छ । नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन आफूहरूको बहुमत नगुम्नेमा विश्वस्त देखिन्छन् । ‘अप्ठ्यारो बेला यता बसेका सांसदहरू प्रतिगमन सच्चिएपछि झन् उतातिर जाने कुरै हुन्न,’ उनले भने । तर संसदीय दलभित्रको दृश्य प्रस्ट भइसकेको छैन । ओलीकै बहुमत आउने र संसदीय दलले उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित गर्न नसक्ने अवस्था आयो भने खेल संसद्मा प्रवेश गर्छ, त्यतिखेरका प्रमुख खेलाडी कांग्रेस र जसपा हुन सक्छन् ।
संसद्मा पुगेपछि पनि त्यति निर्णायक बन्ने परिस्थिति देखिँदैन । मानिलिउँ, पुनले नै भनेझैं नेकपाको संसदीय दलबाट दाहाल या अरू कोहीलाई नेता बनाउँदा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने हुन्छ । उनले राजीनामा दिएपछि संसद्मा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुन्छ । संसदीय दलबाट हट्नेबित्तिकै ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ तर राजीनामा दिनुपर्छ भनेर कहीं पनि लेखिएको छैन । आफैंले भंग गरेको प्रतिनिधिसभा पुनःस्थापित हुँदासमेत ओलीलाई नपरेको नैतिक संकट संसदीय दलको नेताबाट हटाउँदा पर्छ भन्ने पनि छैन ।
ओलीले राजीनामा दिए संसद्मा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ, नदिए ओलीविरुद्धको अविश्वासको प्रस्ताव पास गराउने कसरत हुन्छ । यहाँनिर फेरि अर्को कठिनाइ आइपर्छ । कानुनतः नेकपा विभाजित भएको छैन र १ सय ७२ जना सांसद एक्लै सरकार बनाउन सुविधाजनक बहुमत हो । कानुनले नै चिन्ने गरी नेकपा नफुट्दासम्म संविधानको धारा ७६ (१) अनुसार नै सरकार बनाउनुपर्छ । ओलीलाई नेकपाको संसदीय दलले हटायो भने चुनिएका नयाँ नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेछ । धारा ७६ को उपधारा १ हुँदाहुँदै २ मा प्रवेश गरेर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्य प्रधानमन्त्री बन्न संविधान नै बाधक हुन्छ । यही बुझेर नै नेपाली कांग्रेसले नेकपा विभाजन नहुँदासम्म गुटलाई समर्थन नगर्ने निर्णय गरेको हो । ओलीलाई हटाएर दाहाललाई प्रधानमन्त्री बनाउने नयाँ खेलमा कांग्रेसजस्तै जसपा पनि नलाग्न सक्छ । हुन त दाहाल–नेपाल समूहका नेताहरूले शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाएर अघि बढ्ने छलफल पनि चलाएका छन् । फेरि संविधानको धारा १०० (५) ले अविश्वासको प्रस्ताव पेस गर्दा प्रस्तावित उम्मेदवारको नामसमेत पेस गर्नुपर्ने स्पष्टै व्यवस्था गरेको छ । सत्तापक्षीय दललाई यहींनिर अर्को धर्मसंकट आउँछ, ओलीविरुद्ध दाहाललाई प्रधानमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता गरौं संसद्मा पास हुन नसक्ने डर, कांग्रेस सभापति देउवालाई प्रस्ताव गरौं पार्टी नफुट्दासम्म नेकपा एक्लै सरकार बनाउन सक्ने र बनाउनुपर्नेको धारा ७६ (१) ।
यी सबै समस्याको हलका लागि नेकपा नफुटी नहुने अवस्थामा पुगेको संविधानविद् शाक्यको भनाइ छ । ‘सबै राजनीतिक समाधान न्यायपालिकाले दिँदैन, पार्टी फुटाउनेले चिह्न पनि पाउँदैन, पार्टी फुटाएको दोषारोपण पनि उसैमा जान्छ, त्यसकारण ओलीले पनि पार्टी नफुटाउने, प्रचण्डको दुःख फेरि पार्टी नफुटाउने तर ओलीलाई नहटाई नहुने,’ उनले भने, ‘अर्को भनेको संसद्मा अविश्वासको प्रस्ताव पारित गर्ने हो । अविश्वासको प्रस्तावमा जसपा, कांग्रेस, दाहाल–माधव
नेपालको टिमले भोट हाले भने ओली अल्पमतमा पर्छन् । तर त्यसअघि वैकल्पिक प्रधानमन्त्रीको नाम कसको दिने भन्ने प्रश्न उठ्छ । त्यसैले पार्टी नटुक्री हुँदै हुन्न । एक न एकले फुटाउनुपर्ने हुन्छ ।’
अब पार्टी विभाजन गर्ने चरणमा प्रवेश गर्दाका फेरि आफ्नै समस्या छन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ र ४३ अनुसार पार्टी विभाजन गर्न सकिन्छ । दफा ३३ ले पार्टी फुटाउने नै व्यवस्था गरेको छ भने ४३ अनुसार बहुमतको दाबी गर्ने र अल्पमतलाई निकाल्ने हो । दफा ४३ अनुसार नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा गत माघ १२ लाई विवाद सुरु भएको मिति मान्नुपर्ने दाबी गर्दै निवेदन पनि दिएको छ । तर आयोगले ‘विवाद के हो, १५ दिनभित्र जवाफ पठाऊ’ भनेर अर्को पक्षलाई चिठी पठाउनुपर्नेमा त्यो गरेकै छैन । कानुनअनुसार नै नेकपासम्बन्धी समस्या आयोगले टुंगो लगायो भने अलग कुरा नत्र दफा ३३ को बाटो लिनुपर्ने हुन्छ । अहिलेको परिस्थितिमा ओलीले पार्टी फुटाउने छेकछन्द देखाएका छैनन् । दाहाल–नेपाल पक्षसँग बहुमत त छ तर उनीहरूले पार्टी फुटाउने निर्णय गर्दा न नाम रहन्छ त चुनाव चिह्न नै । सत्ता सहकार्य गर्ने हो भने पहिले पार्टी विभाजन गरेर आधिकारिकतासहित आउनू भन्ने कांग्रेस–जसपाको आग्रह र पार्टी नफुट्दासम्म धारा ७६ (१) अनुसार नै सरकार बनाउनुपर्ने बाध्यात्मक परिस्थिति र त्यसपछि उत्पन्न हुने झन् जटिलताको मूल्यांकन दाहाल–नेपाल समूहले गरेका छन् ।
शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले बर्खास्त गरेका प्रमुख सचेतक देव गुरुङ भने निर्वाचन आयोगमा विचाराधीन पार्टीको आधिकारिकतासम्बन्धी विवाद सल्टिएपछि संसदीय दल र
संसद्भित्रको समस्या पनि समाधान हुने बताउँछन् । ‘संसदीय दल माउ पार्टीको प्रतिछाया जस्तो हो, माउ पार्टीले गरेका निर्णयलाई विधिअनुसार संसदीय दलले कार्यान्वयन गर्ने हो । पार्टीको आधिकारिकतासम्बन्धी समस्या निर्वाचन आयोगमा छ, त्यो नसल्टिएसम्म पार्टीको निर्णयभन्दा बाहिरबाट मनोमानी गर्न पाइँदैन,’ उनले भने, ‘त्यसमाथि उहाँ त संसद् सिद्धाउन हिँडेको मान्छे हो नि, संसद् विघटन पनि ठीक र पुनःस्थापित भएपछि यहाँको गतिविधि पनि ठीक भन्ने हुन्छ र ? यो त नैतिकहीनताको पराकाष्ठा हो ।’
यही गन्जागोलमा टेकेर सकेसम्म नेकपा फुट्नै नदिने स्थिति सिर्जना गर्ने ओली पक्षको प्राथमिकता हो । नेकपा नफुटेसम्म कांग्रेस र जसपा पनि अनिर्णीत नै रहन्छन् । यसो हुँदा स्वाभाविक रूपमा ओली सरकारको आयु लम्बिँदै जान्छ । संसदीय गणित आफ्नो पक्षमा पार्न नेताहरूले सकेको कोसिस गर्नेछन् । ओली पक्षीय नेकपाका महासचिव विष्णु पौडेल अब के हुन्छ भन्ने कुरा दाहाल–नेपालले नै चाल्ने कदममा भर पर्ने बताए । ‘अब नेकपा पुस ४ गतेको अवस्थामा फर्किएको छ, त्यो भनेको प्रधानमन्त्री ओलीसँग करिब दुई तिहाइको सुविधाजनक बहुमत रहेको अवस्था हो,’ उनले भने, ‘यही अवस्थामा सदनमा पनि अविश्वासको प्रस्ताव पास हुन सक्छ भन्ने लाग्दैन, दलको बैठकले त त्यो प्रस्तावलाई स्वीकारै गर्दैन । हामी पार्टी फुटाउँदैनौं ।’

Page 5
शनिबार विशेष

एउटा मण्डपमा 'सेमियोटिक्स’

चार चरा भए पनि एक पटकमा विपरीत दुई कुनाका दुई चराले फिँजाएका पखेटा जोडिएर बनेको हो नेपाली छानाको रुप । पखेटाहरुको आश्रयमा देउता–मानव हुरी र पानीबाट जोगिएर बस्छन् ।
- सौरभ

 

सेमियोटिक्सको अर्थ
नयाँ उब्जेका प्रतीकहरूलाई शास्त्रीय रूप दिने, त्यसको मूल्यलाई स्थापित एवं व्याख्या गर्ने कार्य हो सेमियोटिक्स साह्रै सरल भाषामा भन्नुपर्दा । मोटो अर्थमा प्रतिमा लक्षणशास्त्र (आइकनोग्राफी) र सेमियोटिक्समा भिन्नता छ जस्तो लाग्दैन पनि । तर, यसको चलन नै नेपालमा नभएको हुँदा सेमियोटिक्सलाई एउटै शब्दमा परिभाषित यतिबेला गर्न सकिन्न । त्यो हास्यास्पद हुन पुग्छ, कृत्रिम लाग्छ ।
मण्डपको पृष्ठभूमि
यो मण्डप उपत्यकाको पश्चिमी भागमा पर्ने आदेश्वर महादेव मन्दिर परिसरभित्र २०७६ सालमा पुनर्निर्मित चाहिँ हो । जुन २००३ सालमा निर्माण भएर कालान्तरमा जगान्तर हुन पुगेको थियो ।
सीमितता र समिति
पुनर्निर्माण गरिनुपर्ने स्थानमापको सीमितता र स्थानीय संरक्षण समिति, पुरातत्त्वका स्थानविशेषको जिम्मेवारी लिएका पदाधिकारी आदिसँगको सर्तमूलक सहकार्य भएको एउटा लामो समयपछि १८ह१२ फिटको यो मण्डपलाई वर्तमान रूप दिन सकियो ।
अब यो माथिको तीन उपशीर्षकको भूमिका छोडेर सोझै सेमियोटिक्समा जाऊँ ।
गजुर
तीनवटा गजुर छन् यसमा । बीचको ठूलो चाहिँले नेपालका आदिदेव शिवको प्रतिनिधित्व गर्छ । शिवको गजुरमा सामान्यतः एउटा कलश आकार हुन्छ । तर, कलश नै भनेर राखिएको पाइँदैन । यसमा जानाजान कलश राखिएको छ, कैलाशको प्रतीकको रूपमा, त्यो पनि एउटामाथि अर्को गरेर । एउटाले पार्वती र अर्कोले गंगाको प्रतिनिधित्व गर्ने गरी । यहाँ पंक्तिकारले तोकेको गंगा इन्डिया उत्तरको होइन, गांगरी (कैलाश) बाट मानसरोबर, त्यसपछि पानीको सानो सोतोबाट राक्षसताल हुँदै बगिआउने घोंगज्यू (कर्णाली) हो ।
यो गजुरमा कमल छैन । कमल नेपालको रैथाने होइन । र, कामदेवको वाणमा कमल परेकाले नेपाली मान्यतामा शिवलाई चढ्न पनि सक्दैन । तर, पाटन, हौगलका गजुर निर्माता बज्राचार्य, शाक्य र अन्य उनीहरूको शास्त्र मिलेन भन्दै कमलपत्र नहाली गजुर बनाउन तयार भएनन् ।
तिनलाई बौद्धकमल पलेस्वाँ होइन पुण्डरिक स्वाँ हो भनेर बुझाउनसमेत सकिएन । बज्राचार्यले नै बज्रयानी कमल उफो स्वाँ हो भनेर बुझ्न नचाहनु त झनै परेको कुरा । बनाउने नै हो भने एकैपल्ट बाह्रवटाको अर्डर दिनुपर्ने सर्त तेर्स्याए तिनले । अन्ततः हौगलमा पसल खोलेर बसेका विष्णु खत्री तयार भए यो बनाइदिन । यसपछि मात्र यो र अन्य दुई बिनाकमलका गजुरको निर्माण हुन सक्यो । विष्णुसँगको भेट धार्केमा गोरखनाथ मन्दिर निर्माणका अभियन्ता सरोज श्रेष्ठले गराएका हुन् ।
पूर्वी गजुर गणेशका लागि समर्पित छ । यसमा पित्तलबाट बनेका हात्तीका दुई दाह्रा दक्षिणतर्फ तेर्सिएका छन् । किनभने गणेशको शिर नै हात्तिको हो र हात्तीका कम्तीमा छवटा प्रजातिका प्रागऐतिहासिक अवशेष नेपालमा पाइएका छन् । दाह्रा हौगलकै अर्जुन घतानीले बनाएका हुन् ।
पश्चिमी गजुर कुमारका लागि समर्पित छ । कुमारको गजुरमा वाण छ । हाम्रो परम्परामा वाणको रूप वाणलिंगमाथि मात्रै हुन्छ तर यसमा वाण हालिनुको कारण कुमार युद्धका देवता भएर हो ।
अमात्य, जोशी, राजभण्डारी, प्रधान, मास्के आदि छथरी श्रेष्ठ अर्थात् उच्च भारदार हुन् र अरू श्रेष्ट (संस्कृतको श्रेष्टी, स्रेस्तादार अर्थात् व्यापारी) हुन् भन्ने भिन्नता बुझियो भने कुमार र गणेशको भिन्नताबोधले दसौं हजार वर्षको नेवार संस्कृतिलाई अरू टड्कारो पार्छ ।
जब नेवारहरू उपत्यका बसाइँको आदियुगमा थिए, ती भिडन्तमा विश्वास गर्थे । तिनको कुमारकेन्द्रित पूजा चरममा थियो । जब ती युद्ध छोडेर व्यापारमा लागे तिनको बिघ्नेश (गणेश) पूजन चर्केर गयो । गणेश, भीमसेनको पूजा तिनले व्यापार फलाइफुलाइ दिऊन् भनेर होइन, बिघ्न नपारिदिऊन् भनेर पन्छाउन सुरुमै गरिने पूजा हो । यो मूलतः इन्डियन चलन हो । र, उतैबाट आएको हो । मच्छिन्द्रनाथ पूजाको सुरुमा हुने बौपूजा (भूत पूजा) जस्तै हो । नतिजा के भने कुमार पूजा आज लत्रेर सिठिनखमा सीमित हुन पुगेको छ ।
गजुरको ॅप्लिन्थ’
अहिले प्लिन्थ शब्दलाई गजुर उभिएको धरातल वा आधारको क्षेत्र भन्ने बुझौं । यो प्लिन्थ पूर्व पश्चिम तेर्सिएको छ । त्यो शिवलेक (चुरे शृंखला) को प्रतीक हो । जहाँ कुमारको प्रतीक ‘षर’ (वाण) अर्थात् जिनस ‘थेमेडा’ का बहुल प्रजातिहरू पाइन्छ, जुन शिवको त्रिशूलको पूर्वरूप पाटे सिउँडीको प्राकृतिक स्थल हो । र, जहाँ गणेशको प्रतीक प्रागऐतिहासिक हात्तीका पाँच प्रजातिका अवशेष शिवलेकको उत्तर र दक्षिण फेदीका खोलाहरूमा पाइएको छ ।
वाण (अस्त्र) र त्रिशूल एवं दाह्रा (शस्त्र) हुन् । त्रिशूल आकाशतिर फर्काउने चलनले मात्रै ऊर्ध्वाकारको राखिएको होइन । भारवीको ‘किरातार्जुनीय’ को कूटनीतिक आशयलाई केशरबहादुर केसीले व्याख्या गरेको कार्यलाई सम्मानित गरिएको पनि हो । मानदेवका छोरीपट्टिका नाति मानिन्छन् भारवी ।
गजुरमाथिको प्रतिवाद
४ भदौ २०७६ मा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको ‘डिपार्टमेन्ट अफ आर्किटेक्चर’ ले एउटा प्रवचन कार्यक्रम राखेको थियो— तीन ‘नन आर्किटेक्ट’ हरूको । ती तीनमध्येको एक पंक्तिकारले यस मण्डपमाथिको आफ्नो व्याख्या सकेपछि श्रोतावर्गका तर्फबाट आर्किटेक्ट सुदर्शन तिवारीको भनाइ आयो— तर नेपालमा गजुरको इतिहास छैटौं शताब्दीदेखि मात्रै भएको पाइन्छ ।
निश्चय नै रोनाल्ड बर्नियरले ‘द नेप्लिज पगोडा ः अरिजिन एन्ड स्टाइल’ मा जस्तो लाग्छ पगोडा शैलीको सबैभन्दा पुरानो मन्दिर इन्डियाको हिमाचल प्रदेशको चाम्बामा भएको कुरा एक ठाउँमा लेखेका छन् । जुन शैली पश्चिम नेपालका शिखर शैलीका मन्दिरहरूसँग मिल्छ । तर यो पगोडाशैली होइन, बर्नियरको त्रुटि छ यसमा । र, दसौं शताब्दीभन्दा अघिको पनि होइन ।
बरु अश्वघोषले बुद्ध निर्वाणको पाँच सय वर्षपछि लेखेको ‘बुद्धचरित’ मा तत्कालीन शुद्धोधनको दरबारछेउको एक ठाउँमा हात्तीले फूलमाला चढाउने गरेको कुरा उल्लेख गरेका छन् । गजको अर्थ हात्ती हो । गजराको अर्थ जुरोमा लगाइने माला हो । गजको जुरो हो गजुर । यसर्थ गजुरको चलन छैटौं शताब्दीदेखिको हो भन्ने गरिए पनि त्यो छैटौं शताब्दीदेखि मात्रै सुरु भएको हो भन्न गाह्रो छ । किनभने इतिहास दस्तावेजहरूको रिसाइक्लिङ मात्रै होइन, प्रजेक्सन पनि हो । यद्यपि प्रागऐतिहासिक हात्तीको युगमा नै गजुर थियो भन्ने आशय पंक्तिकारको किमार्थ होइन ।
गजुर लक्ष्मीप्रसाद बास्तोलाले फिट गरेका हुन् ।
गजुरको रङ
यो रङको कुरोमा जानुअघि पशुपतिमा हालिन लागेको अर्बौं मूल्यबराबरको सुनको जलहरीको सन्दर्भ उठाउनु सही हुनेछ । सुनको जलहरीले पशुपतिको सांस्कृतिक मान्यताको उल्लंघन हुने हुँदा तीव्र विरोध गरेर रोकिने उद्घोष त्यहाँका वैद्य, भण्डारी, बिसेटहरूले गरिरहेका छन्, तर दुई सय वर्ष मात्र पुरानो चाँदीको जलहरी समात्दै भएको यसको विरोध सय प्रतिशत मात्र होइन एक सय एक प्रतिशत अज्ञानताको परिचायक हो ।
शिवको एउटा नाम अर्जुन हो । र, अर्जुनको अर्थ सुन पनि हो । शिवको एउटा नाम हाटक हो । र, हाटकको अर्थ सुन नै हो । यसैले एउटै परिवारका सदस्यहरूको पर्यायवाची नाम हिरण्यशमशेर, सुवर्णशमशेर, रुक्मशमशेर, कनकशमशेर, हाटकशमशेर हुन गएको हो । नभन्दै पशुपतिमा पारसमणि छ, जसलाई कुनै धातु छुवाए पनि सुन बन्छ भन्ने किंवदन्ती नै छ । भलै पारस भनिएको वस्तु कच्चा धूलोबाट सुन मात्रै सोसेर लिने पारो नै किन नहोस् । हरेक भोगमा एक तोला सुन हाल्ने चलन भएको चाहिं किन हो ? तिनले जवाफ दिनुपर्छ अब ।
यसैले यस मण्डपको गजुरमा टिन र तामाको निश्चित मात्रा मिलाएपछि बन्ने सुनौलो रङ लगाइयो ।
(प्रसंग मोडिएको नलागोस् पाठकहरूलाई । पशुपतिको सुनको जलहरीप्रति पंक्तिकारको एउटा अर्कै संशय भने छ । २ सय वर्षअघिका शासकहरू सुनको जलहरी हाल्न नसक्ने मानिस थिएनन् । तर, तिनले किन हालेनन् होलान् भन्ने सोच्नुपर्छ ।
अर्बौं मूल्यको सुन खुला रूपमा हालिएपछि त्यो चोर्ने मनसायले हुने आक्रमण र तोडफोडको आशंका निरन्तर भइरहन्छ । पशुपति सेनालाई सुम्पिनुपर्ने, अनावश्यक बोझ आइलाग्छ नै । सम्भावित तोडफोडले पशुपतिलाई आसन्न संकटमा धकेल्छ समसुद्धिन इलियासको कालमा जस्तै । अरब स्प्रिङपछि लिबिया र इजिप्टका संग्रहालयहरूमा भएका लुटलाई बिर्सिदिने हो भने कुरा अर्कै हो ।)
झंगटी र छानाको चरा
छानाको चरा अग्निपन्छी हो र चीनको कुन्लुनसानबाट हिउँदतिर आउने चरा हो भन्ने निर्क्योल ‘कान्तिपुर’को ३ माघ २०७७ को ‘अग्निपन्छीको एथेन्स उडान’ शीर्षकको लेखोटमा आइसकेकाले यहाँ पुनरुक्ति नगरौं । चरा सानो आकारको हुने र सोही साइजमा ढाल्दा देख्नै गाह्रो हुने भएकाले उल्रिच वेल्सनरको कथित संज्ञा ‘कर्नर हर्न’ माथि यसलाई बिराजमान गराउनुपर्‍यो । यसलाई बनाइदिने जिम्मा सूर्यमान ताम्राकारले लिएका हुन् । संयोगवश उनको कुलदेवी सेन्ट जेभियर्स स्कुलबाहिरको उग्रतारा भएकाले र त्यसको भर्खरै मात्रै जीर्णोद्धार भएकाले पनि चराको साइज मिल्न गयो ।
तर, छानामा हालिने सानो टायल अर्थात् ‘झिंगटी’ को शुद्ध रूप झंगटी हो । झंग अर्थात् नेवारीमा चरा+टी अर्थात् तरल, झोल, वर्षात्को पानी । भन्नाले, चार चरा भए पनि एक पटकमा विपरीत दुई कुनाका दुई चराले फिँजाएका पखेटाहरू जोडिएर बनेको हो नेपाली छानाको रूप । जुन पखेटाहरूको आश्रयमा देउता र मानव आदि हुरी, पानीबाट जोगिएर बस्छन् ।
यसो भएपछि मण्डपको छानामा चलनचल्तीको झिंगटी हाल्ने कुरा भएन । त्यो मध्ययुगमा युरोप हुँदै भित्रिएको सानो टायल मात्र हो । यद्यपि रामायण, महाभारत आदिमा आउने तल, अतल, सुतल, महातल आदिबाट नै हिन्दीको टोल, अंग्रेजीको टायल आदि बन्न पुगेको हो ।
अब प्वाँख आकारको झंगटी तयार पार्नुपर्ने भयो । परम्परागत इँटामा काम गरिरहेका भक्तपुरका भट्टाहरू त्यसलाई बनाउन तयार भएनन् । त्यसका लागि साँचो बनाइदिने सिकर्मी फेला पार्न झनै सजिलो भएन । अन्ततः खोकनाको फाँटमा बिनासाइनबोर्ड काम गरिरहेका एक पात्रसँग सम्पर्क भयो । उनले झंगटीमा ग्रिप (पकड) हाल्न पटक्कै नसकिने, प्वाँखको रूपसम्म देखिने तर दसवटाको अर्डर दिनुपर्ने र मूल्य सामान्य नहुने बताए । हस् भनेर स्वीकार्नैपर्ने हुन गयो ।
त्यो पनि अन्तमा आठवटा साँचो बन्यो तर पाको रूपमा ढाल्न कुनै भट्टा पाइएन । अन्तमा माटाका भाँडाकुँडा बनाउने एक ठिमीवासी प्रजापति तयार भए । कमजोर प्रविधिको कारण चिनियाँ इँट वा सेरामिक्सको जस्तो कडापनसमेत यसलाई दिन सकिएन ।
त्यसपछि छानो हाल्ने विभिन्न कालीगढ तीनपटक सम्झौता हुँदा पनि भनेको समयमा भक्तपुरबाट आइदिएनन् । आखिर खोटाङकी पुष्पा राई नामकी एक कर्मठ महिला कारिगर तयार भइन् र उनले खट बाँधेर झंगटी हालिन् । उनैले झल्लर र टेराकोट्टाका अन्य रूपहरू जडान गरिन् ।
थामहरू
शिवको एउटा नाम पशुपति पनि हो । उनको वाहन नै साँढे जसका चार खुट्टाहरू हुन्छन्, यही कारण हो, १८ फिटका बीचमा अरू दुइवटा थाम हाल्न मिल्ने हुँदाहुँदै पनि हालिएन । त्यसरी हालिएपछि यो किट वर्ग (इन्सेक्ट) को बन्न जान्थ्यो । बाह्र फिटका बीचमा अर्को दुई थाम हाल्न सकिन्थ्यो, त्यसो गर्दा यो आर्किनाडा (माकुरा, बिच्छी वर्ग) को बन्न जान्थ्यो ।
थामका दक्षिण फर्किएका चार भित्तामा चारवटा बाजाका रेखाचित्र पनि अर्जुन घतानीले उतारेका हुन् । यसमा पश्चिमी थाममा भीषण नाद नामको सिङ बाजा छ । त्यसपछाडि पिपिरी बाजा छ, पूर्वी पछिल्लो थाममा पिउँरा बाजा छ र पूर्वी अघिल्लो थाममा भेरी बाजा छ । सुरुका तीन थामको रेखाचित्र रामप्रसाद कँडेलको ‘म्युजिकल इन्स्ट्रुमेन्ट्स अफ नेपाल’ बाट लिइएको हो । कँडेलको दशकौं वर्षदेखिको मिहिनेतलाई सार्वजनिक सम्मान गर्ने उद्देश्यले नै यसो गरिएको हो । अन्यथा अर्को रेखाचित्र हाल्न सकिने थियो नै । पहिलो बाजा सिङ बाजा साँढेको सिङबाट बनेको छ । यो ब्राम्हिनी गाई (बस इन्डिकस) हो, जसमा अछामी गाई पनि पर्दछ । दोस्रो बाजा पनि सिङ बाजा नै हो, तर योचाहिँ भेडाको सिङबाट बनेको छ । नन्दी (साँढे) र भृंगी (भेडा) हो । भृंगी इन्डियनहरूले दिनेजस्तो मानव रूपको जीव होइन । भेडाको सिङबाट बनेको बाजालाई भेरी भनिन्छ । सम्झिए हुन्छ भेरी नदी ।
तर, कँडेलको पुस्तकमा परेको ‘पाटनको शृंगभेरी जात्रामा, बजाइने नेकू बाजा’ भन्ने वाक्यांशले पाटनको परम्परा दिग्भ्रमित भइसकेको बुझाउँछ । शृंगको अर्थ सिङ हो, भेरी भेरी नै भयो । हुनुपर्थ्यो भेडाको सिङको बाजा, भइदियो राँगोको सिङ (नेकू) को बाजा । यसैले कँडेलको पुस्तकबाट नेकू बाजाको रेखाचित्र भने उतारिएन ।
पश्चिमी पछिल्लो भित्ताको पात बाजा हो, जसलाई पिपिरी भनिन्छ नेपालीमा । र, पूर्वी पछिल्लो भित्ताको रेखाचित्र चिलाउनेको रूखको बोक्रा बाजा हो, जसलाई पिउँरा भनिन्छ नेपालीमा । अगाडि जीव र पछाडि वनस्पतिलाई मिलान गरिएको हो । अर्थ हो भित्री आयाताकार जंगल हो । पूरै स्थापत्य भने मनोरञ्जनका निम्ति हो ।
भृंगी भेडा हो भन्ने कुरालाई अर्थ्याऊँ । भिरंग रोग (सिफिलिस) बनेको हो सिपिलस नामको पात्रबाट भन्ने ग्रीक आख्यान छ । सिप भनेको भेडा नै हो । पूर्वबाट टिपेकाले ग्रीक आख्यान यतिबेलासम्म भ्रमान्ध भइसकेको छ । भिरंग र भेडामा के घनिष्ठ सम्बन्ध छ प्याथलजिस्टहरूले भन्न सक्लान् । पशुपतिका गणमा साँढे र भेडालाई लिइनुको कारण जनावरहरूमा सबैभन्दा सोझा मानिएर हो ।
भुइँ
मण्डपको भुइँमा तेलिया इँटले छापियो, तर बीचमा तीनवटा प्रस्तर जडान गरेर । मध्य र पूर्वी छेउमा राखिएको प्रस्तरमा बाघचालको रेखा कोरिएको छ । यो विशुद्ध नेपाली ‘गेम’ खेल्न स्थानीयहरू फुर्सदमा भेला होऊन् भनेर मात्र होइन । बाघ र भेडा पशु भएकाले र तिनका मालिक पशुपतिप्रति समर्पित मण्डप भएकाले पनि हो । अर्थात् पशुपति स्वयं यी प्रस्तरमा विराजमान छन् अदृश्य रूपमा ।
पश्चिमी किनारको प्रस्तर च्याम्पटी खेलको ‘बोर्ड’ हो । यो नेवारहरूको परम्परागत गेम उपत्यकाबाट लोप भइसक्यो । त्यसलाई जीवित राख्न होइन, त्यसको परिचय दिलाइरहन पनि हो र वनस्पति आधारित भएकाले पनि हो ।
रेखांकन भक्तपुर जाँदाको एउटा ढुंगा डिपोका कारिगरले गरेका हुन् । बोर्डचाहिं कोटेश्वरबाट जडीबुटीतिर जाँदाको ठाउँमा एक पत्थरकट्टाले बनाएका हुन् ।
यहाँ पित्तलमा कोरिएको रेखाचित्र स्थापना गर्न निश्चय नै सकिन्थ्यो तर प्रस्तर छानियो । किनभने स्थाणुको अर्थ प्रस्तर र शिव दुइटै हो । यही नेपालीको स्थान र अंग्रेजीको स्टोन हुन्छ । यही यशोब्रह्म शाहको गद्दी हुन पुगेको हो र एडिनबरास्थित यही ‘सिकोन’ मा बसेपछि मात्रै ब्रिटिस राजा वा रानीको राज्याभिषेक पूरा हुन्छ ।
निर्क्योल के भने यस प्रस्तर नै शिव भएकाले यसमाथि धुनी बनाउन निषिद्ध छ ।
आँगन
मण्डपपछि एउटा अर्को ठूलो पेटी छ । त्यसभन्दा तल आँगन छ दक्षिण फर्केको । आँगनमा पखेटा फिँजारेर पूर्वतर्फ उडिरहेको एक विशाल बाजको इँट निर्मित मूर्ति छ ।
यो मूर्ति सम्भवतः नेपालमै पहिलोपल्ट निर्मित ‘यजुष्मती’ नामक यजुर्वैदिक इँट हो । जसका माध्यन्दिनी र तैतिरीय शाखा नेपालको पूर्वी तराईमा लेखिएको मानिन्छ । यसमाथि होम गरिने परम्परा छ वा होमका निम्ति राखिने इँट यो रूपको हुन्छ, जसलाई स्थायी रूपमा यहाँ जडान गरियो । शाही बाज नेपालको रैथाने हो नै । बाजलाई अरुण मानिन्छ भन्ने लेखोट (बालकृष्ण पोखरेल) ले दर्साएकाले पनि यसलाई सूर्योदयको दिशातर्फ फर्कार्इएको हो ।
शिर निर्माणको निम्ति स्थान प्रयोग गर्दा यसअगाडि पहिला नै निर्मित एउटा पौवाको भित्ता उभियो । त्यसलाई उडान मार्गमा नपार्न दक्षिणतर्फ यसलाई धकेल्नुपर्‍यो र टाउको पनि दायाँतर्फ फर्काउनुपर्‍यो ।
त्यसपछि बाजको वरिपरि तीनतिर तीनवटा गमला राखिए । यो तन्त्रको मान्यतामा आधारित छ । शिव+देवी, काली नभएपछि त्यो शव मात्र हुन पुग्ने कारणले ती तीन गमला त्रिकोण विन्दुका रूपमा स्थापित गरिएको हो ।
तर, त्यस गमलाको आकार कमल भएको हुँदा माथिको कमलको प्रसंगसँग मेल खाएन भनेर पाठकहरूलाई निश्चय नै लाग्नेछ । अब यसलाई स्पष्ट पारौं । पशुपति भण्डारखालमा पाइएका केही माटाका भाँडाका टुटफुट संकलनहरू एक स्थानीयले पंक्तिकारलाई धेरै वर्षअघि देखाएका थिए ।
खुट्टा भाँचिएको वाइन ग्लासरूपी ती दुई भाँडाहरू उनका अनुसार लिच्छविकालतिरका ठूलाठूला भारदारी परिवारले देउतालाई नैवेद्य चढाउँदा उपयोग गरिने पात्रहरू थिए । जसमा उनीहरूको पारिवारिक प्रतीक चिह्न (फेमेली सिल) को छाप लागेको हुन्थ्यो । संकलक तिनको रङ र कडापन हेरेर भन्थे— सिमेन्ट त उतिबेलै थियो । सायद उनी फेरोसिमेन्टलाई संकेत गर्दै थिए ।
नभन्दै एउटा पात्रमा त्यो प्रतीक चिह्न देख्न सकिन्थ्यो । कुनाचाहिँ गोलोगोलो भएका एउटा चुतुष्कोणभित्र कमलाकार गमला थियो । गमलामा टीके कर्कलो (क्यालाडियम बाइकलर) का पातजस्ता लाग्ने ठाडा दुइटा पात हालिएका थिए । गमलाबाहिर उभिएको देखिएको गाई उनका अनुसार कपिला (कैली गाई) थियो ।
पंक्तिकारले त्यही गमलालाई यहाँ स्थापित गरेको मात्र हो । नभन्दै अंग्रेजीको भी आकारका वर्तमान गमलाहरू युरोपियन मोडेलका हुन् । यो रूप आयातित हो । नुवाकोटको अशोक वाटिकामा जमिनबाट झिकेर फुटेपछि गाडिएका भनिएका अंशुवर्माकालीन गमलाको रूप पंक्तिकारलाई थाहा नभएकाले पनि यसो गरिएको हो ।
पश्चिमी गमलामा पत्करी (क्लोरोफाइटम नेपालेन्सिस) किन राखियो होला भनेर ती वनस्पतिशास्त्रीहरूले सजिलै बुझ्नेछन् जसलाई श्वेतमुसली (क्लोरोफाइटम बोरिभिलियानम) हो भनेर थाहा छ । पूर्वी गमलामा अजम्बरी (कालान्कोए स्पाथलाटा, न कि पिन्नाटा) राखिनुको कारण अरूभन्दा पूर्वी पहाडका राईहरूले बढी बुझ्नेछन् । दक्षिण छेउमा पहाडी सिम कर्कलो (क्यालोक्यासिया एफिनिस) किन राखियो होला भन्ने कुरा पनि अरूले भन्दा उनीहरूले अझ बढी बुझ्नेछन् । जसलाई कर्कलोको पानी पिएकी निनामरिम्दु वा सुम्निमाको कथा विस्तृत रूपमा थाहा छ ।
नभनिने कुरा
खुलै रूपमा व्याख्या नगरिने, गर्न नमिल्ने केही प्रतीकहरू यसमा स्वतः निर्मित हुने गरी तय गरिएका छन् । त्यो पारखी आँखाले मात्रै ठम्याउने कुरा हो । पुनर्निर्माणकालमा परिसरभित्र बसेका एक दुई गैरस्थानीयले अनेक दुःख नदिइरहेको भए यसको विस्तृत आयतनमा अरू डेढ दर्जन प्रतीकहरू तय गर्न सकिन्थ्यो पनि होला । यद्यपि वैष्णव मन्दिरका तुलनामा शैव स्थापत्यहरू उदासीन, झलकमलकरहित हुन्छन् ।
डा. वासुदेवकृष्ण शास्त्रीले मोहोडा र स्थान वास्तुशास्त्रीय कोणले सही ठहर्‍याएपछि यसको भौतिक ढाँचाको प्राथमिक रेखांकन रमेश कटुवालले गरेका हुन् । पछि अरू दुई इन्जिनियरले त्यसमा परिमार्जन गरे । मूल ढाँचाको स्थायी निर्माण अश्विन बिहारीले गरेका हुन् ।
नसकिएको कुरा
तल्ला तीन सिँढीमा हाल्न तय गरिएका हरिण, गैंडा र बाघको जोडामध्ये गैंडाको साँचो (मोल्ड) बन्यो । तर, बाघको मोल्ड बनाउन अर्डर दिइएको कलाकार पात्रले दुईपल्ट भत्काउन लगाउँदा पनि पाटेबाघको ठाउँमा घरेलु बिरालोको रूप मात्रै निकाल्न सक्यो । बैना नै छोडियो । ढुंगा वा पित्तलका महँगो माध्यम उपयोग गरिए पनि चोरी भएर जाने त्यहाँको लथालिंग अवस्था हुँदा फर्माउन सकिएन । अझै त्यो कोण अलपत्र नै छ । त्यसको र त्यसको क्रमको सेमियोटिक अर्थ यति बेला खुलाइहाल्ने कुरा पनि भएन ।
पुरातत्वले सिमेन्टको बनाउने अनुमति दिँदैन । यद्यपि चोभार गणेश परिसरमा उभ्याइएको र घण्टा झुन्ड्याइएको स्तम्भ उतिबेलाको चोभार सिमेन्ट कारखानाबाट उत्पादित पहिलो बोराबाट बनेको गुणस्तरयुक्त भएकाले होला आज पनि सिमेन्ट भनेर त्यहाँ नलेखिएको भए प्रस्तर नै ठान्थे यात्रुहरूले । पुल्चोकको इन्जिनियरिङ क्याम्पसको प्रसंगको लगत्तै पंक्तिकार प्रिन्सटन विश्वविद्यालयको इन्जिनियरिङ विभागको पुस्तकालय पुगेको थियो । त्यहाँ लगभग सय किसिमका सिमेन्ट ब्लकका नमुनाहरूले रहस्य खोलिदिए— त्यो मुलुकमा बिच्छ्याइएका र उभ्याइएका करिब करिब सबै बनोट प्रस्तरकै थिएनन् । प्रविधि भित्र्याउन नसक्दा भएको समस्या यहाँ लेखेर साध्य नै भएन ।
२००३ को पात्र
ग्वालियर (इन्डियाको मध्यप्रदेश) को घना जंगलबीच बन्दुक हान्न सिकिरहेको त्यो पात्र त्यहाँको स्वतन्त्रता संग्रामको पूर्वसन्ध्यामा के गरिरहेको थियो अन्योल नै छ । एकाएक घोडामा चढेर सामुन्ने पर्न आएको धमर्धुस पात्र जियाजिराओ सिन्धिया हो भन्ने थाहा पाएपछि भागाभाग भएको थियो उसको । सबैलाई थाहा भएकै कुरा हो ग्वालियरले प्रधानमन्त्री रणजंग पाँडेलाई र नेपाललाई सबैभन्दा ठूलो धोका दिएको थियो, अंग्रेज भगाऊ अभियानमा ।
ल्हासामा एकाएक उत्रिएको चीनले एक महिना बन्दी बनाएको थियो नेपालीका छोराछोरीलाई प्राथमिक भाषा पढाएर बसिरहेको उसलाई । र, नेपालले सामान्य यायावर हो भनेर परिचय दिलाएपछि छोडिदिएको थियो । उसले कम्युनिस्ट चीन त छोड्न चाहेकै थिएन, तर पूर्ण विकासपछि मात्र विदेशीलाई स्वागत गरिनेछ भनेका थिए चिनियाँ सिपाहीहरूले हाँसेरै ।
इन्द्रबहादुर राईको ‘जयमाया एक्लै लेखापानी आइपुगी’ कथाका सयौं आवृत्ति उसले नागाल्यान्डमा देखेको थियो, त्यो कथा लेखिनु धेरैअघि नै । अर्थात् बर्मामा नेविन आउनु
कैयन्अघि ।
राणाकालीन ‘शारदा’ मा एउटा रचना छापिएपछि १९९८ सालमै फ्रायडको ‘एलेक्ट्रा कम्प्लेक्स’ मा आधारित सहित छ वटा पूर्ण कथाका पाण्डुलिपि छोडेर यायावर बनेको त्यो पात्र नजाने किन हो यो मण्डप बनाउन पुगेको थियो आदेश्वरमा । र, एउटा शिवालय बनाउन पुगेको थियो मनमैजुमा । त्रिपन्न वर्षअघि नै उनन्चास वर्षको उमेरमा बितेको त्यो पात्रको श्रीमतीले पुनर्निर्माण निम्ति छोडेर गएको रकमले उसका पाँच सन्तानले फेरि उभ्याइदिएको स्थापत्य हो यो । पात्रको नाम हो शेष ।
पुछारमा
त्यो शिवालयछेउ अर्को मण्डप बनाइदिन भिरालोमा उभ्याइएको ‘रिटेन्सन वाल’ ६–७ वर्षअघि नै भत्कियो । नक्सा कामनपाको नगर योजना आयोगले महिनौं लगाएर तयार गरिदिएको पनि छ— शिवका ६ ऋतु दर्साउने फलक होस् भन्ने आशयअनुसार । तर, विभिन्न कारणले जाँगर चलेको छैन अहिलेलाई ।
कतिबाहेक भने सेमियोटिक्सको अर्कै धार त्यसमा उभ्याउन सकिन्छ । तर, कम कष्टसाध्यचाहिँ छैन ।

शनिबार विशेष

ब्याकबेन्चर

- केशव सिलवाल

 

फर्स्टम्यानले बेइमानीमा प्रथम हुने कसरत गरेपछि
मलाई ब्याकबेन्चर हुनुमा कुनै अफसोस छैन
कुनै पछुताव छैन

त्यसो त ब्याकबेन्च मेरो संसार हो

म ब्याकबेन्चको भाषा मात्र जान्दछु
ब्याकबेन्चको संस्कृति मात्र मनाउाछु
ब्याकबेन्च नै बााचिरहेछु
मलाई ब्याकबेन्चर हुनुमै गर्व छ

जब कि सबैले अघाएपछि मात्र
मलाई खाने अवसर हुन्छ
सबैले लगाएपछि मात्र
मलाई लगाउने अवसर मिल्छ
सबैले बसेपछि मात्र
मलाई बस्ने अवसर जुर्छ

म बेन्च सफा गर्दा गर्दै
पछिल्लो लहरमा आइपुगेको हुा
म अरुलाई बस्ने ठाउा छोड्दा छोड्दै
पछिल्लो लहरमा धकेलिएको हुा

देशले जब हाजिर उठाउाछ
अन्तिममा आउाछ मेरो नाम
म मर्न लागिसकेको हुन्छु
तब सबैलाई भ्याएपछि मात्र झुल्किन्छ चिकित्सक
अर्थात् यसो भनाौ–
आउादै आउादैन मेरो बााच्ने पालो

के के हुने हो ?
(म मौन बसो भने Û)
के के गर्ने हो ?
अगाडिदेखि बीचसम्म भ्याइसक्छन् सबैले

अघिल्लो बेन्चमा बस्नेले गरेको फोहोरमा
मेरो कुनै हिस्सेदारी छैन
ड्राइभरको हातमा लरखराइरहेको स्टेरिङमा
मेरो कुनै योगदान छैन
बस्, म हल्ला गर्दै रहो
फर्स्ट बेन्चमा बस्नेले
कहिल्यै सुनेनन् पछाडिको कुरा
कहिल्यै हेरेनन् पछाडि फर्किएर
कहिल्यै चिनेनन् पछिल्लो अनुहार

के के सल्लाह गर्ने हो ?
अघिल्तिर नै हुन्छ
कहााकहाा जाने हो ?
अघिल्तिर नै तोकिन्छ
बस, म त दर्शक हुा
जब पछाडिबाट चियाउाछु
कसैले बीचमै उठेर छेकिसक्छ

म चुपचाप हुादा
मेरो हिस्साको आागनको अघिल्लो छेउ
पहिलो लहरको नाममा दर्ता भो
मैले गोडेको रंगीन बगौचा
अगाडि उफ्रिरहनेका लागि रंगमञ्च भइदियो
अघिल्लो लहरको बेढंग नाच हेरेर
ताली बजाउादा बजाउादा
नठान्नू– थाकिसकेको छु म

कसैले पछाडिबाट ढुंगा हान्यो भने
त्यो म नै हुनेछु ।

Page 6
शनिबार विशेष

ग्रिलको सहर, दिलको सहर

सहरले कति फलाम खाएछ ⁄ फलामे गेटको दायाँबायाँ पिलपिलाउन खोजेको बाटुलो बत्तीले जीवन होइन, भालालाई नै चहकिलो बनाएको महसुस हुन्छ ।
अग्ला कम्पाउन्ड र भालैभालाले जेलिएको सहरको घरघरमा अशान्ति थुप्रेको छ । किन ?
- कान्तिपुर संवाददाता

 

जब कुनै सहरको कुनै टुक्रा घडेरीमा घर निर्माणको सुरसार चल्छ, सेरोफेरोमा अनौठा दृश्य देखिन्छन् । भूमिपूजन सुरु गरेसंँगै बजारको घेराबन्दी सुरु हुन्छ । घडेरी वरिपरि मोटरसाइकलको ओइरो लाग्छ । अफरै अफरको घेरो लाग्छ । इँटाको अफर । गिटी र बालुवाको अफर । डन्डीको अफर । यी अफरहरू ती निर्माण सामग्रीजस्तै रूखा, खस्रा र अलि डरलाग्दा हुन्छन् । आफ्नो डिपोबाट किनिदिनुपर्ने धम्की र दबाबको भाषा पनि अफरमा मिसिएको हुन्छ । काठ, रंगरोगन, सिमेन्ट, आल्मुनियमका झ्यालका अफर । नामै नसुनिएका अनेक रासायनिक पदार्थको अफर । मार्बल, ग्रेनाइट, वाल पुटिङ, कार्नेस, बत्ती, फल्स सिलिङ, बाथरुमका सामान, भान्साकोठाका सामान, ग्रिल, रेलिङ, बरन्डाका हुक्का, पानी ट्यांकी, पानी तान्ने मोटर, पाइप, सोलार, कार्पेट, पार्केट, फर्निचर, अनेक किसिमका टायलको अफर । के–के हो के–के । गनिसाध्य न भनिसाध्य । चिल्ला ब्रोसर र अनेकथरी भिजिटिङ कार्डको चाङ लाग्छ । मानौं तपाईंसँग पैसाको पहाड छ र त्यो पहाड खोतलेर आफ्नो खल्ती भर्न सबै जना लाइनमा उभिएका छन् । एउटा पुन्टे घरले यति धेरै सामान खाइसक्ला ? निर्माणको सुरसार नहुँदै तपाईंलाई प्रश्नको भारीले थिच्न थाल्छ । आफूसँग भएको पैसा थोरै लाग्न थाल्छ । पार लगाउन सकिन्न कि ? टाउको समाउने अवस्था आइलाग्छ ।
पैसा खनेर, पुरेर, छापेर, ओछ्याएर, उभ्याएर तपाईं ठिक्कको एउटा ढलान घर बनाउनुहुन्छ । दुःख गरेर बनाएको त्यो घर तपाईंलाई मनपर्छ । रंग राम्ररी नसुकेको कोठामा पसेर जब सरर
झ्याल खोलेर मुन्टो निकाल्ने र बाहिर हेर्ने रहर गर्नुहुन्छ, ग्रिलको सम्झनाले संसार खुम्च्याइदिन्छ । अनि खिस्रिक्क पर्नुहुन्छ । डाङडाङ र डुङडुङ पार्दै, झ्यारझ्यार र झुरझुर पार्दै जब कम्पाउन्ड पर्खालमा भाला र घरका भएभरका झ्यालमा ग्रिल ठोकिन्छ, घर घरजस्तो नभएर जेलजस्तो बनिसक्छ । न मुन्टो निकाल्न मिल्छ न सरर... झ्याल खोल्न मिल्छ । ग्रिलका चेपबाट दृश्य फिजारिनै पाउँदैन । मन रमाउनै सक्दैन । कम्पाउन्ड पर्खालको भालामा गएर मन खुम्चिन्छ । भर्‍याङको हालत उस्तै हुन्छ । तलैपिच्छे फलामका च्यानल गेट । अनि छतमा गएर सेरोफेरो हेर्नुहुन्छ । भालैभालाको सहर । ग्रिलै ग्रिलको सहर । सहरले कति फलाम खाएछ । फलामै फलामका भाला रोपिएको घर बाहिरको साँघुरो सडक उजाड र निर्जन लाग्छ । फलामे गेटको दायाँबायाँ पिलपिलाउन खोजेको बाटुलो बत्तीले जीवन होइन, भालालाई नै चहकिलो बनाएको महसुस हुन्छ । भालाको सहर झन् डरलाग्दो देखाइदिन्छ त्यो बाटुलो बत्तीले । सहरी जीवनको यो विवशता सम्झँदै मन कोक्याउँछ । घरैघर जोडिएका छन् । हरेक घरभरि मान्छे नै मान्छे छन् । अँध्यारो कतै छैन । घर, सडक सबैतिर झिलीमिली छ तर कहिल्यै सुरक्षित महसुस हुँदैन मन । घरलाई फलामको पिँजडा नबनाई सहरवासीलाई सुखै छैन । सहर यस्तै छ । तपाईंलाई यस्तै नबनी सुखै छैन । यस्तै बनेर बस्दा पनि मनमा शान्ति छैन ।
यस्तो किन हुन्छ ? कारण खोजौं । तपाईंको आत्मा अन्त कतै उडेको छ । खुर्र मोटरसाइकल चढेर चिन्नु र जान्नुको ठाउँमा घडेरी खोज्दै हिँड्नु र आफ्नो आर्थिक हैसियत सुहाउँदो एक टुक्रो घडेरी किनेर घर बनाएर सरिहाल्नु धेरैको साझा नियति हो । भित्ता जोडिएका सँधियारसँग त नक्सा पास गर्ने बेलामा, इनार खन्ने बेलामा, जग खन्ने बेलामा, ढलान गर्ने बेलामा, रंगरोगन गर्ने बेलामा साँधसिमाना छोइयो, बाटोमा इँटा थुपार्‍यो, सिमेन्टको थुप्रोले भित्तो छोइयो, ढलान गर्दा डिस्टर्ब भयो, हल्ला भयो, रङ लत्पतियो, घाम छेकियो, यसो भयो र उसो भयो भन्दै सम्बन्ध चिसिने क्रम बढ्दै जान्छ । घर बनिसक्ने बेलामा बोलचालै हराउनेसमेत डर हुन्छ ।
नेपालमा वर्षमा कति रकमको ग्रिलको कारोबार होला ? खोजिपस्दा तथ्यांक डरलाग्दो देखियो । ३ वर्ष पुरानो समाचार पल्टाउँदा ग्रिल तथा स्टिल व्यवसायमा वार्षिक ४० अर्बको कारोबार हुने गरेको देखियो । १ महिना पुरानो समाचार हेर्दा यो व्यवसायमा करिब १ लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगार पाएका र १५ लाख जनाको रोजीरोटी चलेको देखियो । पछिल्लो समय ग्रिलजन्य फलामको मूल्य ६० प्रतिशतसम्म बढेको र व्यवसाय धान्नै मुस्किल परेको समाचार पनि देखियो ।
नयाँबस्तीमा समाज बन्ने तत्त्व असाध्यै कमजोर छ । न त खुला ठाउँ, न पुस्तकालय, न हिँड्न सहज ठाउँ, न भेला र जमघटका सांस्कृतिक र सामाजिक मौकाहरू नै । इतिहास नभएको बस्तीलाई मनमनले जोडेर साँच्चैको बस्तीजस्तो बनाउन धेरै तत्त्व चाहिन्छ । फरक भूगोल, समुदाय र समाजबाट आएका व्यक्तिलाई घुलमिल गराउने भौतिक र सामाजिक संरचनाको जग बलियो नहुँदा यी बस्ती नीरस बनेका छन् । १० फुटे बाटो र चारआने घडेरीबाहेक खास के छ नयाँ बस्तीमा ? केही तत्त्व त छन् तर पर्याप्त छैनन् । धेरै नयाँ बस्तीमा ससाना मन्दिर बनाइएका छन् । आफ्नो धर्मअनुरूप प्रार्थनास्थल, आराधनास्थल बनाइएका छन् । साँघुरो ठाउँमा सुखदुःख उभ्याइएकाले तिनले समाजलाई होइन, मान्छेलाई भगवान्सँग मात्र जोडेका छन् । उभियो, पूजा वा प्रार्थना गर्‍यो, हिँड्यो । बाटो पिच गर्ने वा ढलान गर्ने बेलामा भेला हुनेबाहेक अरू बेला टोल सुधार समितिको बैठक विरलै बस्छ । घरछेउका स्कुलमा छोराछोरी पढाउने चलन पनि अलि पातलो छ । जति टाढा बस चढाएर पठायो, उति राम्रो पढाइ भन्ने सोच देखिन्छ । यो सोचले केटाकेटीले टोलछिमेकमा घुलमिलको मौका कम पाउँछन् ।
नयाँ बस्तीमा घर भनेको आफ्नो पेसा, व्यवसायको काम सकेपछि आनन्दले बस्ने ठाउँ मात्र हो भन्ने बुझाइ छ । आफ्नो पुरानो थातथलोका तर सहरका विभिन्न ठाउँमा छरिएका साथीभाइ, नातागोता, इष्टमित्र, समूह, समाज, मञ्च, संस्थामा रमाउनुपरेपछि आफ्नो टोलमा मन अडिएजस्तै देखिँदैन । सहरी संरचनाले नै हाम्रा हरेक घरहरू टापुजस्ता बनेका हुन् । घरजस्तो बनेनन् सहरका नयाँ टोलका घरहरू । फलामले घर मात्र होइन, मन पनि कित्ताकाट गरिदिएको छ । बालबालिका र ज्येष्ठ नागरिकका लागि यी बस्ती जेलजस्तै छन् । हेलमेलको खासै मौका नमिल्ने भएपछि र विगतको चिनजान नभएपछि कसैको घरमा पसौं, बसौं, गफ गरौं भन्नै दकस लाग्छ । एउटै थातथलोबाट आएका व्यक्ति, अफिसका सहकर्मी वा सहपाठीहरू मिलेर एकै ठाउँमा १२–१५ वटा घडेरी किनेर घर बनाएर बसेको ठाउँको जीवन हेर्नुस् त, उनीहरू कति सुखी देखिन्छन् । बच्चाबच्चीहरू सँगै खेलेका देखिन्छन् । ज्येष्ठ नागरिक एकअर्काको घरमा जाने, बस्ने, भेटघाट गर्ने गरेका देखिन्छन् । उनीहरूको सहरी जीवन जीवन्त देखिन्छ । समाजलाई घुलमिल गराउने भौतिक संरचना नभए पनि उनीहरूको जीवनको जग पहिल्यैदेखि जोडिएकाले उनीहरूलाई सामूहिक रूपले जीवन जिउन असहज भएन । नयाँ बस्तीमा पुरानो समाजको जग भेटिन मुस्किल भए पनि समाज जोड्ने पूर्वाधारको दुःख नहुनुपर्ने हो । तर, त्यही भइरहेछ । त्यसको फाइदा ग्रिलले उठाएको छ ।
अब ग्रिलको सहरबाट दिलको सहरतिर पसौं । जबजब काठमाडौं उपत्यकाको पुरानो बस्तीतिर पस्छु, फलामे सहर एकादेशको कथाजस्तो लाग्छ । कतै छैन फलाम । कतै छैनन् अग्ला कम्पाउन्ड पर्खाल र भालाहरू । सिंगो बस्ती घारजस्तो छ । ससाना गल्लीले फराक चोक र फराक दिललाई जोड्छन् । घरहरू संरचनागत रूपले मात्र होइन, दिलैदेखि जोडिएका छन् । परम्परा, संस्कृति र इतिहासले जोडिएका छन् घरहरू । एउटाको घर भत्काउन परे वरिपरिका सबै घर भत्किने डर हुन्छ । नयाँ बस्तीमा भित्ता जोडिए पनि संरचनागत हिसाबले अलग छन् । पुरानो बस्तीको जीवन जगैबाट जोडिएको छ । त्यसैले त्यहाँको जीवन जोगाउन फलाम चाहिँदैन । कम्पाउन्ड पर्खाल पनि चाहिँदैन ।
पुरानो बस्तीमा ज्येष्ठ नागरिक र बालबालिकाको जीवन लोभलाग्दो देखिन्छ । भित्री र बाहिरी चोकमा, साँघुरा गल्लीमा रमाउँदै खेलिरहेका भेटिन्छन् । टोलैपिच्छे पुस्तकालय, पाटी, मन्दिर र निर्धक्क हिँडडुल गर्ने खुला ठाउँ र भजनमण्डलीहरू हुनाले ज्येष्ठ नागरिकहरू सजिलै दिन काटिरहेका हुन्छन् । अधिकांश घरको भुइँतलामा केही न केही उद्यम गर्ने सानोतिनो ठाउँ हुन्छ । किनेर बेच्ने होइन, बनाएर बेच्ने ती उद्यम केन्द्रमा हरेकको हातमा केही न केही विशिष्ट सीप हुन्छ ।
केही हप्ताअघि भक्तपुरको मध्यपुर ठिमीस्थित चपाचो टोल पुगेको थिएँ । चपाचोमा प्रजापतिहरूको बाहुल्य छ । हरेक टोल, चोक र बाटाहरू माटाका भाडाले भरिभराउ छन् । कोही माटो मुछ्दै छन् । कोही भाडा सुकाउँदै छन् । कोही भाडा बनाउँदै छन् । सबै पुस्ताले सानो–ठूलो काम गरेकै छन् । त्यहाँ दिन कटाउने, दिन ढलाउने सकस कसैलाई छैन । सीपसँगै भिजेर दिन कटिरहेछ । कति सुन्दर र सहज जीवन !
जहाँ घर बनाएर बसिन्छ त्यही सेरोफेरोमा सबैलाई जागिर वा पेसा व्यवसायको मौका मिल्दैन तर धेरथोर उद्यमको बाटो पनि जोडिए बस्ती जीवन्त बन्छ । एउटा टोलमा एउटा पसल मात्र भइदियो भने पनि त्यसले त्यहाँको जीवनमा कति रौनकता थप्छ ! अग्ला कम्पाउन्ड र भालैभालाले जेलिएको सहरको घरघरमा अशान्ति थुप्रेको छ । किन ? दिन कटाउने रचनात्मक उपाय नभटेर मानिस आत्तिएका छन् । गुम्सिएका छन् । घरैघर र मान्छे नै मान्छे भएको ठाउँमा असुरक्षाले किन बास गर्‍यो ? यसको समीक्षा गर्नुपर्छ । जग नभएको बस्तीलाई जोड्ने भौतिक र सामाजिक पूर्वाधारहरू चाहिन्छ । ग्रिलको सहरलाई दिलको सहर बनाउन पुराना बस्तीबाट सिकौं । धारा, पाटी, पौवा, मन्दिर मस्जिद, हिँड्ने बाटा, पोखरी, पुस्तकालय, विद्यालय, बगैंचा, गुठी, जात्रा, पर्वले हाम्रा जीवन जोड्छन् । मिलेर बाँच्न सिकाउँछन् । सामूहिकताको भावना विकसित गराउँछन् । सबैथोक मासेर हरेक थोक आफ्नो कम्पाउन्डभित्र थुपार्ने सहर हेर्दा भव्य देखिएला तर सहरबस्तीको जीवन असाध्यै नीरस छ । बस्तीलाई ग्रिलले होइन, दिलले जोडौं । घरैघर थुपारेर समाज बन्दैन । समाज बन्न सामाजिक संरचना चाहिन्छ । दसतिरबाट आएको मन जोडेर समाज बसाल्न सजिलो छैन । त्यसका लागि भौतिक पूर्वाधारको लहरो चाहिन्छ । ग्रिलको पहरोले त्यो लहरो जोड्न दिँदैन ।
आजकाल सहर मात्र होइन, गाउँ पनि नीरस बनिरहेको छ । जता गए पनि चौतारो मासेकै देखिन्छ । डोजरले हानेर कुवा, पाटी, पौवा भत्काएकै देखिन्छ । ग्रिल हाल्दै गरेको चर्को आवाज गाउँमा पनि बाक्लै सुनिन्छ । बच्चाहरू दौडिन, उफ्रिन, कुद्न छोडेका छन् । मोबाइलमा झुत्ती खेलेर समाज यसरी थुनिनु हुँदैन । सहरको नीरस जीवनको छाया गाउँमा पनि पर्न थालेको महसुस हुँदै छ । हेर्दाहेर्दै गाउँठाउँ पनि अलि वर्षमा नयाँ सहरजस्तै खल्ला, रूखा र नीरस बन्न बेर छैन । भौतिक संरचनाले जीवन्त समाजलाई निल्नु हुँदैन ।
(लेखक आर्किटेक्ट तथा ग्रामीण विकासविज्ञ हुन् ।)

शनिबार विशेष

पहाडको अर्थ खोज्दै

किताबले हिमाली संस्कृति, नेपालका विविध जातजातिको मिथकदेखि पश्चिमा संस्कृति र सभ्यताको उकाली–ओरालीलाई सम्बोधन गरेको छ
- कान्तिपुर संवाददाता

 

निससँग हिँड्दाहिँड्दै कहिल्यै नसकिने बाटाहरू हुन्छन् । खाँदाखाँदै कहिल्यै नसकिने खाने क्रम हुन्छ । लाउँदा–लाउँदै नसकिने लुगाहरूको फेहरिस्त, गाउँदा–गाउँदै नसकिने जीवनगीत अनि लेख्दा–लेख्दै नसकिने खाली पानाहरूको थाक हुन्छ । अर्थपूर्ण संगति खोज्दाखोज्दै ती पानाहरू खाली नै रहन पुग्छन् । मेरो अगाडि प्रत्येक पानाहरू सुन्दर कविताले भरिएका ‘पानाहरू खाली छन्’ नामको युयुत्सु आरडी शर्माको कविता संग्रह छ ।
वर्तमानलाई कठिन घडी नभनेरै ती कठिनताहरू उनी आफ्ना कवितामा पस्कन्छन् । हामीले भोगेका आरोह–अवरोह अनि हाम्रा भनाइ र गराइको बेमेलले गोडमेल गरेका भग्न मान्यताहरू पस्कन्छन् । कविता साधनामा दिन–रात ध्यानमग्न एउटा मिलरेपा फुत्त निस्कन्छ तार्के घ्याङ तलको ‘मिलरेपा गुफा’ बाट र छरिन्छ हावाले देबदारका हाँगामा अडिएको हिउँ–भुइँ झारेर छरेजस्तै ‘पानाहरू खाली छन्’ भित्र ।
पहाडको अर्थ खोज्ने जमर्कोमा आफैं पहाड हुन रमाइरहेका देखिन्छन् युयुत्सु । हिमालको अर्थ खोज्न अग्लिने र पग्लिने लगातार भइरहन्छन् उनी । खच्चरहरूका खुरहरूबाट उडेको धूलो र फुर्वाको शेर्पा भान्साघरबाट पुत्ताइरहेको धुवाँमा रङमगिएको तस्बिर उनी उन्दछन् आफ्ना कवितामा । शेर्पिनी आमाको आतिथ्यको सबभन्दा गहिरो निद्रा सुतेपछि यशुको क्रस ओसारिरहेको बूढी हजुरआमाको कमजोर ढाड उनी अनुभव गर्छन् । शिखरको ऊर्जाले बोकिरहेको खोंचहरूको अवसाद लुक्दैनन् उनका कवि मस्तिष्कबाट । उनी लुङ्दर भइदिन्छन्– फर्फराउँछन्, उनी देउरालीका ढुंगा भैदिन्छन्– कसैको हृदयले चढाउँदै जान्छन्– थिचिन्छन्, उनी हिमाली खोला भैदिन्छन्– काँचो गीत प्रकृतिको गाई हिँड्छन् । तिब्बती लामाको मन्त्रको कर्णप्रिय ध्वनिजस्तै उनका कविता बिम्ब र प्रतीकहरूमा उनिन्छन् र प्रस्तुत हुन्छन् । उनी कतै बोधगम्य कतै हाम्रो मनजस्तै अबोध्य बन्छन् ।
‘पानाहरू खाली छन्’ संग्रहभित्र भाग एक, दुई, तीन र चार गरी भिन्न कालक्रममा लेखिएका कविताहरू छन् । भाग एकमा उनले पहाडको अर्थ उपशीर्षक दिँदै १६ वटा कविता पस्किएका छन् । कविले यी कवितामा अग्रज नेपाली कविलाई नमन गरेका छन्, जसले संघर्षको एउटा गोरेटो कोरेका थिए । विश्वले नेपाललाई हेर्ने आँखामा बुद्ध र लुम्बिनी कसरी अंकित हुन्छ र तिनीहरूको वर्तमान मूल्य विघटनको कथा उनले यी कविताहरूमा उनेका छन् । क्षय हुँदै गरेको संस्कृति, खिया लाग्दै गरेको संस्कार र वर्तमानका धपेडीहरूले गुम्स्याएका दुर्घटित यौनको पाटोमा उनले नेपाली समाजको चित्रण गरेका छन् । जसमा गरिबी, भोक र करुणाको शृंखला अटुट देखिन्छ । फ्रायडेली यौन बिम्बलाई खेलाउँदै हाम्रो मगजको फोहोरलाई प्रकाश पार्ने काम केही कवितामा भएको देखिन्छ भने केही कवितामा पहाडको अर्थ पर्गेल्ने कविका शब्द
सामर्थ्यले टक्क रोकिदिन्छ यसरी कि आमाका सपनाहरूमा आमाहरू यथार्थसँग पौंठेजोरी खेल्दै सपना देख्न हौस्याउँछन् छोराहरूलाई–आमाका शब्दहरू/मेरो पिरो स्तब्ध मुटुको सतहमा/बिस्तारै खस्छन् ।
‘खच्चरहरू’ उपशीर्षकमा उनका आठवटा कविता छन् । बर्सेनि हजारौं पर्यटकको आकर्षणको केन्द्रविन्दु रहेको अन्नपूर्ण सर्किटको जीवन्त वर्णन कवितामा पाइन्छ । खच्चरका घाँटीको घण्टीले पहिल्याउने बाटो पछ्याउँदै कवि उँभो लाग्छन् । नीला नदीहरू, ढुंगाका डंगुर मानौं, एक–एक बुद्धका वाणीहरू कुँदिएका अक्षरहरू छरिएजस्तै, हावामा फर्फराइरहने लुङ्दरहरू, कुइराले छोपेको हिमाली भेगका झुप्राहरू र त्यहाँका जीवन उनी टपक्क टिप्छन् । आधुनिकता र विश्वव्यापीकरणको दाह्रा र नंग्राले गाँज्दै गएको हाम्रो पहाडको चित्रको कोलाज उनी पस्कन्छन् । तेस्रो भागमा फुर्वाको यार्लिङ नाम दिएर उनले लाङटाङ–गोसाइँकुण्डको पदयात्राका विविध रङहरूलाई समेटेका छन् । हिमाली संस्कृति, जनजीवन र मिथकलाई उनले आफ्ना कवितामा सुन्दर ढंगले प्रस्तुत गरेका छन् । कलात्मक प्रस्तुति र बिम्बात्मक भाषाले काव्य रस हिमाली झरनाझैं उनका कवितामा झर्छन् । खच्चरका घाँटीका घण्टीले पहिल्याएको गोरेटो छिचोल्दै कवि हिमाल पढ्छन्, पहाड पढ्छन् र पढ्छन् टाकुराहरूले छोपेको उपत्यका– उँघिरहेको उपत्यका/तारैताराले भरिएका आकाशहरूले चिनेका छन्/तिनका गोप्य पसिनाका चस्स दुखाइहरू ।
वर्षको आधाआधी कविता पाठ, लेखन कार्यशाला आदिका लागि विदेशमै बिताउने युयुत्सुले संग्रहको भाग चारमा ह्विटम्यानकी छोरी उपशीर्षक दिएर एघारवटा कविता पस्केका छन् । उनका यी कवितामा पश्चिम समाजको चित्र पाइन्छन् तर त्यो पश्चिमा समाजलाई कवि पूर्वीय बिम्ब, प्रतीक र मिथकहरूको साहारा लिई चित्रण गर्छन् । हाम्रो भन्दा विल्कुल भिन्न परिवेशलाई पनि कविले लेखकका आँखाले नापजोख गरिहाल्न भ्याउँछन् र जीवन्त प्रस्तुत गर्छन् । पश्चिमाहरूको खुला सोच, अग्ला भवन, रंगीचंगी बजारको मात्र कवि कुरा गर्दैनन्, ती ठाउँमा भूमिगत मार्ग र ट्युब स्टेसनमा रहेका मागेर गुजारा चलाउनेका कथा पनि उनी बिर्संदैनन् ।
किताबले हिमाली संस्कृति, नेपालका विविध जातजातिको मिथकदेखि पश्चिमा संस्कृति र सभ्यताको उकाली–ओरालीलाई सम्बोधन गरेको छ ।

शनिबार विशेष

आपा क्हार्पको इन्द्रधनुष

ठूलो विपत्तिलाई सफलतापूर्वक टेकेर त्यसैमाथि उभिएको लेखक हो— तीर्थ गुरुङ । यस अर्थमा ऊ विजेताहो ।
- रोशन शेरचन

 

सूर्योदय हेर्न उक्लनुस्
बेलुका अबेरसम्मै बसियो । तीर्थ गुरुङको कथासंग्रह ‘आपा क्हार्प’ को विमोचन सम्पन्न भएको खुसियाली, पोखराको चिसो साँझ मज्जैले तातेको थियो । लेकाली चुल्होको आतिथ्यको न्यायो पनि त्यसमा मिसिएको थियो ।
सखारै मोबाइलले ब्युझिएँ । अर्धनिद्रामै थिएँ । ‘दाइ, सूर्योदय हेर्न उक्लनुस्’, तीर्थ गुरुङको धोद्रो स्वर थियो । ढिलो सुतेकाले उठ्न मन लागेको थिएन । तर, सूर्योदय हेर्ने लालसाले ओछ्यान छाडेँ । छेउको ओछ्यानमा प्रकाशक भूपेन्द्र खड्का मस्त निद्रामै थियो । ज्याकेट र जुत्ता लगाई सिकलेसबाट निस्किएँ । हामी बसेको कोठाको नाम सिकलेस थियो । कोठाको नामकरण स्थानबाट गरिएको थियो— घान्द्रुक, सिकलेस, घनपोखरा आदि । सबै नामकरण सायद गुरुङ गाउँहरूबाटै थियो कि ? मनमनै त्यो आइडियालाई प्रशंसा गरेँ ।
होटल टास्कको रुफटपमा तीर्थ अघि नै उक्लिसकेको थियो । पोखरामा झन्डै तीन दशक बसेँ तर मध्यसहरबाट सूर्योदय देख्न सकिन्छ भन्ने पत्तै भएन । मान्छे त्यतिविधि अनभिज्ञ कसरी हुन सक्छ ? सूर्योदय भन्नासाथ सराङकोटको स्मृति मात्रै आउँथ्यो । तर, अग्लो होटल टास्कको माथिल्लो तला त भ्यु–प्वाइन्ट नै हो । त्यहाँबाट सूर्योदय, हिमाल र पोखरा मनमोहक देखिन्थ्यो । हामी सबैभन्दा माथिल्लो तलामा चढ्यौं । तीर्थलाई उचाइको भय रहेछ । रिंगटा लाग्यो भन्दै ऊ ओर्ल्यो । ऊ ओर्ले पनि म चढिरहने कुरा भएन । म पनि ओर्लें र रुफटपमै उत्सुकतावश घाम कुरिरह्यौं ।
माछापुच्छ्रे र अन्नपूर्ण सेताम्मे नदेखिए पनि प्रशस्त चिसो बोकेर ल्याएको थियो । सडकको सुनसान मिररमा सहर अझै निदाएको देख्न सकिन्थ्यो । ‘ल घाम देखियो,’ तीर्थको धोद्रो स्वर फेरि सुनियो । यसपटक त्यो धोद्रोमा थोरै उत्तेजना पनि मिसिएको थियो । सूर्योदयको आरम्भको दृश्य यस्तो देखियो मानौं अबिरमा लत्पतिएको डबल क्षितिजको आकाशको परत उप्काएर अगाडि बढ्दै छ । अब खिच्नुपर्छ, ढिलो गर्नु हुँदैन, यो चाँडै उदाउँछ, घोरेपानीमा प्राप्त मेरो अनुभव बोल्यो ।
तीर्थ र म क्यामेरामा उक्लँदै गरेको सूर्यको दृश्य खिच्न थाल्छौं । त्यो बिस्तारै ठूलो हुँदै गयो । र, लालीमाको वृत्त फैलँदै गयो । ‘वाउ, सुन्दर, सुन्दर !!!’, मेरो मुखबाट शब्द अनायास
निस्किरह्यो (पछि मोबाइल हेर्दा थाहा पाएँ, ब्युटिफुल ब्युटिफुल भनिरहेको रहेछु) । सोचेँ, देखिरहेको त्यो सौर्यमण्डलकै केन्द्र हो । पृथ्वीको मात्र नभई असंख्य प्लानेटहरूको पनि केन्द्र, मठ हो । त्यसैको कारण पृथ्वीमा जीवन सम्भव भएको छ । सौर्यमण्डल मात्र होइन, मिल्की–वे ग्यालेक्सीसहित करोडौं ग्यालेक्सीहरूसँग द्रुत गतिमा फैलँदै गएको ब्रह्माण्डमा हाम्रो पृथ्वी कतै अज्ञात दिशातिर वेगले हुर्रिंदै (स्पिनिङ) छ, सोच्दा अभिभूत भएँ ।
विपत्ति टेकेर उभिएको लेखक
जीवनको ठूलो विपत्तिलाई सफलतापूर्वक टेकेर त्यसैमाथि उभिएको लेखक हो— तीर्थ गुरुङ । यस अर्थमा ऊ विजेता हो । मलाई उसको यो विजयी यात्रा अनन्तसम्म हेर्न मन छ । पहिला मृगौला रोग र पछि पारिवारिक विघटन, सानो विपत्ति होइन । सानो कठिनाइमै हात खुट्टा छाड्ने लेखकहरू प्रितकर हुँदैनन् । त्यस्ता लेखकहरू र जुनसुकै क्षेत्रका त्यस्ता व्यक्तिहरूसँग म तर्कन्छु । रुवावासी गर्नेसँग त छेवै पर्दिनँ । तर, केही लेखकहरू राम्रा मात्र लेख्दैनन्, उनीहरूको जीवनले ऊर्जा पनि प्रदान गर्छन् । तीर्थ गुरुङ मलाई त्यही कोटीको लेखक लाग्छ ।
अघि ‘पाठशाला’ र अहिले ‘आपा क्हार्प’ लेखेपछि, ऊ निरन्तरको यात्रामा देखिन्छ । विमोचन कार्यक्रममा लेखक सरस्वती प्रतीक्षाले सही भनेकी थिइन्– खहरेजस्तो हल्ला गर्दै आउने र हराउने लेखकहरू पनि छन् तर तीर्थ दाइ सेतीझैं कहिले फुक्दै कहिले लुक्दै तर निरन्तर लेखिरहने लेखक हुन् । वक्ताद्वय गनेस पौडेल र कुमारी लामाले पनि कथाकार गुरुङको उच्च मूल्यांकन गरेका थिए ।
दुई दशकभन्दा बढी भएछ, तीर्थ गुरुङलाई चिनेको । ऊ उमेरले भाइ हो तर रचनाधर्मिताले होइन । उसको लेखनको परिपक्वता र स्वतन्त्रचेत लोभलाग्दो छ । यस अर्थमा ऊ मेरो सहयात्री हो । लेखकहरू स्वतन्त्र (इन्डिपेन्डेन्ट) र विज्ञानसम्मत भएको जहिल्यै सुन्दर हुन्छ ।

शान्ति स्तूपा बसिबियाँलो
विमोचनको भोलिपल्ट शान्ति स्तूपासम्मको हाइकिङको कार्यक्रम बन्यो । निबन्धकार कुमारी लामा व्यस्तताले काठमाडौं फर्किइन् । लेखकद्वय गनेस पौडेल र तीर्थ गुरुङ, आर्टिस्ट कृष्ण मर्सानी, त्रिवेणी भाइ र म छोरेपाटनमा ओर्ल्यौं । खाजाघरमा चिया–चना खाई उकालो चढ्यौं । समीको चौतारा हो सायद, त्यसमा कविता वाचन दृश्यांकन गर्‍यौं । कवि भूपीनको ‘सुप्लाको हवाईजहाज’ संग्रहबाट तीर्थले एउटा कविता पढ्यो । मैले गिम्बलमा मोबाइल अड्याएर क्यामरा मोडमा राखेँ । गनेस र मैले भिडियो खिच्यौं । पार्दी, बिरौटाको उज्यालो पृष्ठभूमिमा तीर्थको सिलहट अमूर्त आएको छ । म फ्रेममा अलि उज्यालो खोज्दो रहेछु, गनेस डार्क ।
चौतारोबाट उकालो लाग्छौं । म हिजोको विमोचन कार्यक्रम सम्झँदै छु । तमू समाजले
आफ्नो समुदायको प्रतिभाप्रति दर्साएको प्रेम सम्झिरहेको छु । गौरी तमूलगायतको सक्रियता सम्झिरहेको छु । पछिल्लो पाँच–सात वर्षको अवधिमा, पोखराको साहित्यमा हस्तक्षेप सम्झने हो भने त्यो कविता विधामा नभई आख्यानमा देखिन्छ । अब एक्लो लेखकले हस्तक्षेप गर्न अत्यन्त कठिन छ । तीन–चार जनाको समष्टि बल नमिस्सिए अनुभूति गर्ने तहमा हस्तक्षेप अब असम्भवप्रायः नै छ । हिजो एउटा संयोग भएको थियो । ‘नथिया’, ‘पाठशाला’ र ‘पैताला’ लेख्ने तीनै लेखकहरू एकै मञ्चमा देखिएका थिए । भिन्न धारका यी उपन्यासहरूले नेपाली औपन्यासिक फाँटमा देखिने तरंग ल्याएकै हो ।
रैथाने गनेस अन्य मामिलामा पनि चल्तापुर्जा छ । बाटैबाट उसले स्तूपाको एक होटलमा ढिँडो र लोकल कुखुरा तयार पार्न भन्यो । छोरेपाटनबाट एक घण्टाको यात्रा हो । तर, बात मार्दै बिस्तारै उकालो चढ्यौं । घामको न्यायो किरणले डाढमा छरिएर धकेल्दै थियो । स्वच्छ हावाले चराचुरुंगीको चिरबिर बोकेर आवतजावत गरेको देख्न सकिन्थ्यो । प्राकृतिक सान्निध्य र संगतिको मात चढ्दै गएको थियो ।
एलिट अर्ग्यानिक हाउसको छेवै क्रान्तिकारी चे–ग्वेभाराको चित्र कोरिएको थियो । त्यो कुनो सेल्फी कर्नरको रूपमा प्रसिद्ध छ । गनेसले आइडिया फुरायो– अर्ग्यानिक हाउसको अग्लो फलामे भर्‍याङ क्रमशः चढ्ने र त्रिवेणीले तलबाट भिडियो खिच्ने । माथि हलमा पुगेपछि झ्यालबाट क्यामेरातिर फर्केर हात हल्लाउने । गनेस अवतारी हो, विचित्र गर्छ । रुफटपबाट हिमाल, ताल र पोखराको दृश्य अद्भुत देखिन्थ्यो । मैले कवि विमल निभाको ‘आगोनेर उभिएको मानिस’ को एउटा कविता वाचन गरेँ । त्यसपछि गनेस र तीर्थको ‘आपा क्हार्प’ माथिको अनौपचारिक वार्तालाप सुरु भयो । त्रिवेणी, राजु क्षत्री र मैले भिडियो खिच्यौं । उन्मुक्त हाँसो हाँस्दै गनेसले कथाहरूउपर तीर्थको विचार जान्न चाह्यो । मिथककै बारेमा धेरै कुराकानी भयो । गुरुङ मिथकको प्रयोगले शीर्षक कथा ‘आपा क्हार्प’ विशिष्ट बनेको छ । त्यसमा ठूलो छोरासँग भाग्ने आमाको कथा छ । हामीले इडिपस कम्प्लेक्सको बारेमा सोफोक्लेसको ‘किङ अडिपस’ नाटकबाट थाहा पायौं तर त्यो ग्रन्थी (कम्प्लेक्स) हाम्रै जनजाति मिथकमा सदियौंदेखि रहेछ ।
एलिट हाउसको लोकेसन गज्जब छ । हलचल मच्चाउँछ । ढिँडोसँग लोकल कुखुराको झोल खाएर तृप्त भयौं । त्यसपछि शान्ति स्तूपाको दर्शनमा निस्क्यौं । ‘सौं चुहा खाके बिल्ली हज चली’ भनेजस्तै भएको थियो । मांसाहारी खान्की खाएर स्तूपा पुगेका थियौं । कोरोनाको कारण बन्द भएपछि स्तूपा हिजो मात्र खोलिएको रहेछ । करिब पैंतालीस मिनेट रानीवन हुँदै ओरालो हिँडेपछि फेवा किनारमा आइपुग्यौं । इन्द्रधनुषको अर्को रङलाई किनारमै बिदा गरेर डुंगा चढ्यौं ।

चित्रकार कृष्ण मर्सानीसँग
कृष्ण मर्सानी पोखरेली साथी । उनीसँगको परिचयको आयुले तीस वर्ष नाघिसक्यो । मेरा धेरै साथी छैनन् । तर, भएका साथीसँग दस, पन्ध्र, बीस वर्षभन्दा अधिकको घनिष्ठता छ । नयाँ साथी बनाउनुभन्दा पुरानै सम्बन्धलाई मलजल गर्न र सम्भव भएसम्म थाँक्रो हाल्न रुचाउँदो रहेछु, म । नयाँ साथी बनाउने मामिलामा म कन्जरभेटिभ नै छु । म पोखरा जाऊँ, कृष्णसँग कुरा नहोस् वा नभेटिहोस्, त्यो सम्भव छैन । फेवा किनारमा बियर खाएर बात मार्नु प्राथमिकतामा पर्छ । विसं २०४५ सालमा पश्चिमाञ्चल वन निर्देशनालयमा रेन्जर हुँदा परिचय भएको । म प्राविधिकतर्फ थिएँ । उनी प्रशासनतर्फ । कृष्णको अर्को परिचय छ, चित्रकारको । मुखाकृति बनाउन उनी अब्बल छन् । हरेक बिहान फेसबुकमा बसिबियाँलो शीर्षकमा उनले लेखक, कवि, राजनीतिज्ञ वा
आफ्नो क्षेत्रमा ख्याति कमाएका हस्तीहरूको पोट्रेट बनाएर पोस्ट गरेको वर्षौं भइसक्यो । मलाई ताल किनारका रेस्टुरेन्टहरूले जहिल्यै मुग्ध बनाउँछन् । काठको मुढा भएको एउटा रेस्टुरेन्टमा छिर्‍यौं । अगाडि ताल छ । पानी नजिक भएपछि मन अधीर हुन्छ । हिमाल तर तालको विपरीत छ । त्यसले धैर्य र स्थिरता भाव दिन्छ । मन्द बतास चलिरहेको छ । बैंसका रूखहरू मानौं स्वागतार्थ उभिएको छ । बियर अर्डर गर्छौं । कस्तो संयोग Û प्रकृतिको सान्निध्यमा बियर आइपुग्छ— नेचर ब्रान्डको । चुस्की लिँदै अब केहीबेर प्रकृतिछेउ मौन बस्न चाहन्छौं । आखिर हिजोदेखि नै हामीले धेरै बातचित गरिसकेका थियौं ।

Page 7
शनिबार विशेष

सिग्नेचर प्लिज !

ईश्वरबल्लभ भन्नुहुन्थ्यो, ‘घर पनि एउटा सपना हो, घर नभए कविता कहाँ राख्ने ?’ त्यसको जवाफमा अब ‘कविता राख्ने’ ग्लुकको सपनाको त्यो घर उनले प्राप्त गरेको नोबेल पुरस्कारको रकमले निश्चय नै पूरा गर्दै छ ।

 

कविता ढाडस दिन्छ
अन्धकार सुरुङमा
तिमी एक्लो छैनौ
– लुइस ग्लुक
(६ खण्डमा लेखिएको चर्चित कविता ॅअक्टोबर’ बाट)

हार्वर्ड विश्वविद्यालयको दक्षिण ढोकाको लगभग सामुन्ने पिलिम्पटन स्ट्रिट नामको एउटा साँघुरो एकतर्फी ट्राफिकको बाटो छ । यसको मुखमुखमै छ, अमेरिकी काव्यजगत्को ऐतिहासिक पुस्तक पसल ग्रोलियर पोएट्री बुक सप । पहिलोपटक मैले ग्लुकको कविता यहीँ छोएको हुँ । यहीं थियो— ग्लुकको कवितासंग्रह ‘द हाउस अन मार्सल्यान्ड ।’
ग्रोलियर पोएट्री बुक सप सिर्फ कविताका लागि समर्पित पसल हो । यसभित्र कविता र कविताबारे लेखिएका समीक्षा, आलोचनाबाहेक अर्को कुनै पनि विधाको पुस्तक खोजेर पाइन्न । आफ्नो चारैतिर विश्वका अनेक कविहरूका कविता संग्रह सजाएर बसेको छ— ग्रोलियर पोएट्री बुक सप । कवि, कविता, यसबारेका सूचना र कविताप्रेमी पाठकको अलावा यहाँ अर्को कोही मानव जीव र कुरोकन्थो भेटिन्नन् । विल्कुल कवितामय छ— ग्रोलियर पोएट्री बुक सप । त्यसैले कवि डोनाल्ड हल कविताका लागि यसलाई विश्वकै भव्य स्थान मान्दथे । योगदानको अर्थमा यो आफैं एउटा लामो सुन्दर कविता हो । छिट्टै एक शताब्दीको हुन लाग्दै छ— ग्रोलियर पोएट्री बुक सप । यस समयबीचका हरेक अमेरिकी कविहरूको राम्रो अखाडा रहिरहेको छ यो बुक सप । कुनै समय टी.एस. इलियट, ई.ई. कमिंग्स, मेरियन मुरजस्ता आधुनिक कविहरूको अखाडा थियो— ग्रोलियर पोएट्री बुक सप । त्यसपछि एलिजावेथ विसप, रोबर्ट लोयल, जेन केन्नन, डोनाल्ड हल, जेम्स टे, लुइस ग्लुकदेखि भर्खरको कवि ओसन भ्वाङसम्मको अखाडा हो यो ।
यो बुक सपले मलाई न्युरोडको प्युखास्थित वरिष्ठ कवि मित्र विमल निभाको तत्कालीन किताब पसल ‘साहित्य घर’ को संस्मरणात्मक झल्को दिनेगर्छ । किनभने ग्रोलियर पोएट्री बुक सपको भित्री स्वरूप ‘साहित्य घर’ को जस्तो थियो, त्यस्तै छ । लगभग चार सय स्क्वायर फिटको क्षेत्रफलमा बसेको छ यो बुक सप । स्तरीय कविताका पुस्तकहरूले मात्र घेरिएको यसभित्र चार–पाँच जना मुस्किलले उभिन पुग्छ । तर, त्यत्ति सानो स्पेसभित्र कविताका सयौं पुस्तक डाइनिङ टेबुलमा मीठा आकर्षक परिकारहरू सफासँग लोभ्याएर राखिएझैं एकदम व्यवस्थित रुपमा राखिएका छन् । चाङमा राखिएका किताबहरू पनि उत्तिकै महत्त्वका साथ त्यस्तै व्यवस्थित रूपमा प्रदर्शन गरिएका छन् । मेरा आँखाले आविष्कार गरेको दिनदेखि ग्रोलियर पोएट्री बुक सप मेरो पनि प्रिय अखडा हुन थालेको थियो । त्यसबेलाको यसको स्वामिनी थिइन्— लुइसा सोलानो । मेरो कविता संग्रह ‘क्रूरको सौन्दर्य प्रेम’ मा ‘हाइटेक कविता संग्रह बुझ्न खोज्दै’ भन्ने शीर्षकको कविता छ । त्यस कवितामा मैले यो बुक सप र लुइसा सोलानोलाई प्रमुख रूपमा प्रसंगात् उल्लेख गरेको छु ।
एक साँझ म ग्रोलियर पोएट्री बुक सपमा सद्य प्रकाशित भनेर राखिएको कविता संग्रह देख्छु र टिप्छु । त्यसलाई हाइटेक कविता संग्रह भनिएको पढ्छु । यो भनाइले नै मलाई छक्क पार्छ । म त्यसका पन्नाहरू पल्टाउन थाल्छु । एकदम अनौठो लाग्न थाल्छ । कविता भनेर राखिएका त्यसका पानाहरूमा अक्षरहरू छैनन्, अक्षरका सट्टा त्रिकोणहरू, सम कोणहरू, चौकोणहरू, मोटा, बांगा, पातला, झिरजस्ता रेखाहरू कविताको आकार मिलाएर राखिएका छन् । एउटा मात्रै होइन पूरै संग्रहका कविता यस्तै त्रिकोण, चौकोण र त्यस्ता रेखाहरूले लेखिएका छन् र भरिएका छन् । यसकारण यसलाई हाइटेक कवितासंग्रह भनिएको रहेछ । अब यी कविता कसरी बुझ्ने ? मेरो मथिंगल नाच्नु स्वाभाविक थियो । पुस्तक उचालेर देखाउँदै मैले लुइसा सोलानोसँग सोधेको थिएँ, ‘के हो यो ?’
लुइसाको सहज व्यापारिक उत्तर थियो, ‘कवितासंग्रह हो ।’ लुइसाको यो जवाफ मेरो अपेक्षाको थिएन । त्यसकारण मैले ‘एक हाइटेक कवितासंग्रह बुझ्न खोज्दै’ शीर्षकको आफ्नो त्यस कविता यही जवाफ खोज्ने आत्मधुनमा लेखेको हुँ । यथार्थमा लुइसाबाट त्यस्तो जवाफ पाएको म फेरि कवितामा लुइसासँग आफ्नो प्रश्नको जवाफ खोज्दै थिएँ,
अचम्मले एक कविता संग्रहका पाना–पाना पल्टाउँदै
ग्राहकहरू मर्माहत सोध्छन्, यी के हुन् ?
द ग्रोलियर पोएट्री बुकसपकी लुइसा भन्छिन्,
‘ती हाइटेक कविता हुन् ।’
वास्तवमा लुइसा सोलानो नै हुन् मलाई ग्लुक पढ्न प्रेरित गर्ने । अमेरिका आएको सुरु सुरुका हरेकजसो साँझ आफ्नो साहित्यिक आनन्दका लागि र आत्मविस्थापनको उदासी मेट्न पनि म द ग्रोलियर पोएट्री बुक सपभित्र पस्थें । सुरुका दिनको त्यस्तै एक साँझ अनेक किताब ओल्टाइपल्टाइ गर्दै उनको काउन्टरको बुक स्ट्यान्डमा राखिएको ‘द हाउस अन मार्सल्यान्ड’ पल्टाउन पुग्छु । मतिर नजर दिइरहेकी लुइसा तुरुन्त मलाई भन्छिन्, ‘सी इज ग्रेट ।’
म पाना पल्टाउँदै गर्छु । फेरि लुइसा भन्छिन्, ‘लुइस ग्लुक धेरै राम्री कवि हुन् यिनलाई पढ ।’ म सुनिरहेको हुन्छु । तर, बोलेको हुन्न ।
‘ठूलो बिछ्यौनामा, अँधेरी रातको प्रहर
बालाई कुरिरहेका छौँ’
म ‘फर माई मदर’ शीर्षकको कविताका यी पंक्तिहरूमा आइपुगेको थिएँ । लुइसाले फेरि भनेको सुन्छु, ‘सी इज माई फेभरेट ।’
‘मार्सल्यान्ड’ का पानाहरू पल्टाउँदै गर्दाको पाँच–सात मिनेटको त्यस समयभित्र म ग्लुकलाई पढ्न प्रेरित भइसकेको थिएँ । किन्ने होइन पढ्ने उत्साहमा मैले लुइसासँग सोधेको थिएँ, ‘यो क्याम्ब्रिज पब्लिक लाइब्रेरीमा पाइन्छ ?’
सम्भवतः लुइसाले यो सुन्न चाहेको प्रश्न थिएन । तर, उनको जवाफ साह्रै विनम्र आयो, ‘ट्राइ देर ।’
मैले यसै गरें । अपार्टमेन्ट फर्कंदाको बाटोमा पर्ने क्याम्ब्रिज पब्लिक लाइब्रेरी पसें । र, ‘सिमसारमा घर’ अर्थात् ‘द हाउस अन मार्सल्यान्ड’ लिएर निस्कें ।
सुरुमा मैले लुइस ग्लुकको कविता–पाठ सुनेको क्यामब्रिज सहरको ब्रोड–वेस्थित एम साकलर भवनको सभाहलमा हो । त्यहाँ ग्लुक कविता पाठ गर्दै छिन् भन्ने जानकारी मलाई त्यही बुक सपकी उनै लुइसा सोलानोले दिएकी थिइन् । यो चौध वर्षअगाडिको कुरो हो । तिनताकाको चिसो दिनको एक साँझ म ग्लुकलाई सुन्न अथर एम साकलर भवनको सभाहलमा पुगेको थिएँ । विशेषगरी हार्वर्ड विश्वविद्यालयका अंग्रेजी साहित्यका प्रोफेसर र तिनका विद्यार्थीका लागि राखिएको थियो— ग्लुकको कविता पाठको त्यो कार्यक्रम । तर, त्यस कार्यक्रममा इच्छुक जोकोहीलाई पनि प्रवेश दिइएको थियो । त्यसकारण एक इच्छुक मैले पनि ग्लुकलाई सुन्न त्यहाँ प्रवेश पाएको थिएँ । त्यस बेलासम्म मैले ग्लुकको ‘हाउस अफ मार्सल्यान्ड’, ‘ट्राइएम्फ अफ एक्लिज’, ‘वाइल्ड आइरिस’ जस्ता कविता संग्रह पढिसकेको थिएँ । तीबाहेक विभिन्न साहित्यक पत्रिकाहरूमा प्रकाशित उनका कविता पाएसम्म पढ्दै उनलाई बुझ्ने प्रयास गरिरहेको थिएँ ।
त्यस साँझ ग्लुकले प्रकाशित आफ्नो कविता संग्रह ‘अभेर्नो’ बाट थुप्रै कविता पाठ गरेकी थिइन् । पाठपछि ‘अभेर्नो’ को पुस्तक हस्ताक्षर कार्यक्रम पनि राखिएको रहेछ । यो कुरो मलाई त्यहाँ प्रवेश गर्नुपूर्व थाहा थिएन । त्यस दिन मेरो खल्तीमा नोटबुकबाहेक नोट (नगद) थिएन । मैले त्यहाँ विक्रीमा राखिएको किताब किन्न सक्ने कुरै भएन । तथापि किताब किन्दै ग्लुकको हस्ताक्षर लिन लाइनमा लागेकाहरूसँगै म पनि उभ्भिएँ । किताब बोकेर ग्लुक बसेको कुर्सीछेउ पुग्दै विद्यार्थीहरू ‘अभेर्नो’ मा हस्ताक्षर गराउँदै थिए । यही क्रममा म पनि ग्लुकछेउ पुगेँ । ग्लुकका आँखा आश्चर्यवत मेरा खाली हात हेर्दै थिए । खासमा उनी मेरो हातमा
आफ्नो ‘अभेर्नो’ खोज्दै थिइन् । मलाई अप्ठेरो लाग्यो नै । यो अन्यमनस्क स्थितिमा पहिले हात मिलाउन मैले ग्लुक सामुन्ने आफ्नो दाहिने हात बढाएँ । उनले पनि आफ्नो हात विनम्रताका साथ मेरो हातमा मिसाइन् । उनको न्यानो हातले मेरो हिच्किचाहट र संकोच हल्का भयो । म आफ्नो खल्तीबाट नोटबुक झिक्न प्रेरित भएँ । मैले कमिजको खल्तीभित्र आफसेआफ चलमलाइरहेको नोटबुक स्वाट्ट झिकें । फटाफट त्यसको खाली पन्ना पल्टाएर उनको सामुन्ने तेर्स्याउँदै भनें, ‘सिग्नेचर प्लिज !’
अब भो ? किताबको सट्टा नोटबुकको खाली पन्ना सामुन्ने तेर्सिएको देखेर ग्लुकको अनुहार बदलियो । उनको मुद्रा छलिएको, छक्किएको जस्तो भइरह्यो । उनी हक्क न बक्क भइरहेकी थिइन् । म उनको हस्ताक्षर लिन हठवत् तर सहज उभिइरहेको थिएँ । विशेषतः मेरो अनुहारको रङ उनलाई प्लिज भनिरहेको थियो । मपछाडि हातहातमा किताब अँठ्याएर त्यसमा उनको हस्ताक्षर गराउन थुप्रै उभ्भिइरहेका थिए । यो गलफतीमा तिनलाई कुराइरहनु ठीक थिएन । यो स्थितिले विवश बनेकी ग्लुकले निधार खुम्च्याउँदै मेरो आग्रह भनौं वा बच्काना हठ जे भनौं स्वीकार गरिन् । र, अन्कनाउँदै मेरो हातको नोटबुकको त्यस पन्नामा आफ्नो हस्ताक्षरका लागि बलपेनको टुप्पो स्वाट्ट नचाइन् । मेरो हठ सफल भएको थियो । खुसीले मैले ग्लुकलाई भनें, ‘थ्यांक्यु ।’
ग्लुकले योभन्दा अगाडि यसरी कुनै अपरिचितले दिएको खाली कागजमा सायदै हस्ताक्षर गरेकी होलिन् । न अब कतै गर्लिन् । न म झैं खाली चिर्कटो तेस्याउँदै उनको सामुन्ने कोही पुग्यो नै होला, नपुग्ला । कागजमा मात्र होइन ग्लुकको हस्ताक्षर मेरो मन र मस्तकमा पनि कोरिएको छ । वास्तवमा ग्लुकको कवि–मन कत्ति विनम्र र सरल छ भन्ने उदाहरण हो यो हस्ताक्षर । मैले दिएको नोटबुकको त्यस पन्नामा उनको हस्ताक्षर पाउँला भन्ने मेरो मनमा दोधार थियो नै । त्यसकारण पुस्तक किन्दै त्यसमा ग्लुकलाई हस्ताक्षर गराउन उभिएको त्यस लाइनमा म बिनापुस्तक नउभियौं कि भन्ने सोचमा थिएँ । तर, मभित्रको साहित्यिक बल जाग्यो । कोसिस त गरौँ, हद भए ठाडै अस्वीकार गर्लिन्, के होला त, भए अपमानित हुँला, त्यो पनि सहुँला, प्रयोग नै सही भन्ने अठोटमा म लाइनमा उभिएको थिएँ । मभित्र आशाको प्रतिशत विल्कुल कम थियो । तथापि म आफ्नो नोटबुकको निर्दोष सादा पन्नामा उनको हस्ताक्षर लिने तीव्र हुटहुटीले लाइनमा लागेको थिएँ । तर, ग्लुकले मलाई निराश पारिनन् । मेरो साहित्यिक हठ सफल भएको थियो । ग्लुकको हस्ताक्षर पाएको नोटबुक खल्तीमा घुसारेर म प्रफुल्लताका साथ अथर एम साकलर भवनको त्यस सभा हलबाट बाहिर निस्केको थिएँ ।
अमेरिकामा मैले बसोबास सुरु गरेको म्यासाचुसेट राज्यको क्याम्ब्रिज सहर थियो । म क्याम्ब्रिजको युनियन स्ट्रिटको एक नम्बरको घरमा बस्थें । एक युनियन स्ट्रिट क्याम्ब्रिज र चौध एल्सओर्थ एभन्यु क्याम्ब्रिजबीच मुस्किलले एक किलोमिटरको फरक छ । यो दूरीबीचको पूर्वतिरको युनियन स्ट्रिटमा म बस्थें । पश्चिम दिशाको चौध एल्सओर्थ एभिन्युमा लुइस ग्लुक बस्थिन् । ग्लुक अहिले पनि क्याम्ब्रिज सिटीको आफ्नो दुई नम्बरको एल्सओर्थ एभिन्युको त्यही कन्डोमोनियममै बस्छिन् । मैले युनियन स्ट्रिट छोडेको १७ वर्ष भयो । युनियन स्ट्रिटपछि म नजिकको एलम स्ट्रिटको अपार्टमेन्टमा सरें । त्यसपछि दस विन्टर स्ट्रिटमा सरें । यी तीनवटै ठेगानबाट पनि मेरो हिँडाइमा एल्सओर्थ एभिन्युस्थित ग्लुकको कन्डोमोनियम पुग्न दसदेखि पन्ध्र मिनेटभन्दा बढी लाग्दैन । क्याम्ब्रिज सिटी बसुन्जेल मेरो साँझ–बिहानको हिँडाइ, कुदाइको व्यायामिक चक्कर यतै हुन्थ्यो ।
नोबल कमिटिको तर्फबाट ग्लुकलाई वर्ष २०२० को नोबेल पुरस्कारका लागि मनोनीत गरिएको जानकारी दिन एडम स्मिथले फोन गर्दा ग्लुक
आफ्नो यै कन्डोमोनियममै थिइन् । बिहान सात नबज्दैको फोन रहेछ त्यो । सायद त्यसबेला ग्लुक बिउँझिएकी मात्र थिइन् । ग्लुक र स्मिथबीचको संवाद सुनेपछि यहि बुझिन्छ । ग्लुकलाई वर्ष २०२० को नोबेल पुरस्कारका लागि मनोनीत गरिएको यो समाचार मैले छिप्पिएको बिहान फक्स न्युजको लोकल च्यानल फक्स–२५ टीभीबाट सुनेको हुँ । सुन्नासाथ म एकदम आश्चर्यमा परें । यताको साहित्यिक माहोलमा यो प्रत्याशित समाचार थिएन । तर, सत्य थियो । कालान्तरमा ग्लुकले नोबेल पुरस्कार पाउलिन् भन्ने अनुमान मलाई विल्कुल थिएन । उपन्यासकार फिलिप रथलाई यो पुरस्कार दिने घोषणा होला, होला भन्ने भइरहन्थ्यो वर्षैपिच्छे । यस्तो अनुमानबीच २०१७ मा छक्क पार्ने गरी गीतकार, संगीतकार गायक बब डिलनलाई नोबेल दिने घोषणा भयो । अन्दाजको के भरोसा ? तथापि फिलिप रथको मृत्यु नहुन्जेल नोबेलले उनलाई कुनै न कुनै वर्ष सम्मानित गर्ला भन्ने लागिरहन्थ्यो । फिलिप रथको मृत्युसँगै यो अन्दाजको क्रमको पनि अन्त्य भयो । तर, लुइस ग्लुकको हकमा यस्तो अन्दाज पनि गरिएको थिइएन ।
निश्चय नै लुइस ग्लुक अग्रपंक्तिकी अमेरिकी कवि हुन् । आफ्नो लेखनको पाँच दशकको अवधिमा उनले पुलित्जर, बेलिन्जेन, लनान वालेस स्टिभेन्सन, ट्रान्स ट्रोमर, न्यास्नल बुक क्रिटिक सर्कल अवार्डजस्ता थुप्रै, थुप्रै प्रतिष्ठित पुरस्कार, सम्मान, फेलोसिप प्राप्त गरिसकेकी छन् । अमेरिकी साहित्यजगत्मा उनको नाम आदरका साथ लिइन्छ । उनको पक्षमा कुनै पनि पुरस्कार जाँदा त्यसले आलोचना खेप्नुपरेको छैन । यसपटक नोबेल कमिटीले उनलाई रोजेर धेरैलाई सुखद आश्चर्यमा पार्‍यो । ग्लुकलाई रोज्नु नोबेल कमिटीको विगतको दाँजोमा विवादमुक्त हुने कोसिसको रूपमा सोच्नेहरू पनि छन् । तर, ग्लुक पुरस्कारको जन्जालभन्दा धेरै माथि छिन् । उनको रचनात्मकताको उचाइलाई सम्मान गर्न मै हुँ भन्ने कुनै पनि फेलोसिप, सम्मान, पुरस्कार अग्रसर रहन्छन् नै । पुरस्कार भनेको कसैलाई ह्याउन कसैलाई दिइन्छ, कहिलेकाहीं कुनै निर्णायक दिनुपर्ने कसैप्रति बायस भयो भने अर्को कसैलाई दिइन्छ, यस्तो कूटनीति हुँदा पनि पुरस्कार पाइन्छ । पुरस्कारबारे ग्लुकको धारणा जान्न कसैले सोधेको प्रश्नको जवाफमा ग्लुकले भनेका यथार्थ कुराहरू हुन् यी । ग्लुकको स्वाभिमानले पुरस्कारको कुनै माने राखेको देखिँदैन । आफूलाई नोबेल पुरस्कार दिने घोषणा भएको सुनेर पनि त्यो बिहान एडम स्मिथसँग कुरा गरिरहँदाको क्षण उनको स्वर त्यत्ति उत्साहित थिएन । कुरो रेकर्ड भइरहला त्यसकारण, वास्तवमा म बोल्न चाहन्न भन्दै आफूलाई कफीको तलतल मेट्ने नै हतारो भएको कुरा उनी एडम स्मिथलाई आभास गराउँदै थिइन् ।
लुइस ग्लुकको कन्डोमोनियम सामुन्ने खुला चउर छ । गर्मी मौसममा यो चउर हराभरा हुन्छ । लुइस ग्लुक अवश्य यसको आनन्द लिँदी हुन् । जाडाका दिनमा यो चउर पूरै हिउँले टन्न भरिएको हुन्छ र हिउँको विशाल कालीनमा परिणत हुन्छ । यस सुन्दर चउरको समीपमा छ— हालै अत्यन्त आधुनिक संरचनामा निर्मित क्याम्ब्रिज पब्लिक लाइब्रेरीको नयाँ भवन । पाँच–सात मिनेटको पैदल दूरीमा हार्वर्ड विश्वविद्यालय र त्यसअन्तर्गतका थुप्रै विभागका स्कुलहरू छन् । कुनै समय यस विश्वविद्यालयमा उनी पढाउने पनि गर्थिन् । उनको बसाइवरिपरि विज्ञान, कला, नाटक, साहित्य, शिक्षा, स्वास्थ्यका सुन्दर केन्द्रहरूले घेरिएको छ । यो सब बौद्धिक जीवन्तताको केन्द्रमा रमाउन सायद उनले आफ्ना लागि एल्सओर्थ एभको त्यो कुचुक्कको कन्डोमिनियम रोजेकी होलिन् ।
देखिँदा सरल लाग्ने पंक्तिमा गहिरो भावगुम्फनको कला भर्ने ग्लुक खाँटी अमेरिकी भावभूमिकी एकदम तीव्र संवेदनशील कवि हुन् । उनको निश्छल, सरल व्यवहार नोबेल पुरस्कार पाउँदाको उनको प्रतिक्रियामा झल्किन्छ । सिर्फ दुई मिनेट मात्रै बोल्ने सर्तमा उनी एडम स्मिथसँग बोल्दै थिइन् । वार्ता तीन मिनेटसम्म लम्बियो र उनले दुई मिनेट भइसक्यो भनेर स्मिथलाई लज्जित पार्दै वार्ता रोक्न बाध्य पारेकी थिइन् । स्मिथको ‘नोबेल पुरस्कारले तपाईंका लागि के माने राख्छ ?’ भन्ने प्रश्नमा ग्लुकले अरू कुराको साथमा एक व्यावहारिक जवाफ दिएकी थिइन्, ‘म भर्मन्ट राज्यमा घर किन्छु, क्याम्ब्रिजमा मेरो एउटा कन्डोमोनियम छ, अब म भर्मन्टमा एउटा घर किन्न सक्छु ।’
महान् ब्रिटिस लेखक रुडयार्ड किप्लिङले आफ्नो जीवनको लगभग आधा दशक भर्मन्टमा बिताएका थिए । भर्मन्टको डमर्सटोनको उनकै नाममा राखिएको रुडयार्ड किप्लिंग रोडको उनको घर अहिले साहित्यिक तीर्थको रूपमा प्रख्यात छ । जुन कुनै पनि लेखक, कवि कलाकारलाई यसको प्रकृति र शान्त वातावरणमा सेटल हुन पाए हुन्थ्यो भन्ने भइरहन्छ नै । ग्लुक पनि आफ्नो जीवनको महत्त्वपूर्ण कालखण्डमा पटकपटक भर्मन्टमा बसेकी छन् । ग्लुकलाई आफ्नो यस प्रिय स्थान भर्मन्टमा एउटा घर किन्न पाए कस्तो हुन्थ्यो भन्ने भइरहेको रहेछ । स्मिथलाई दिएको जवाफमा उनको यो सपना झल्किन्छ । ७७ वर्षको उमेरमा पनि घर किन्ने सपना एउटा कविको मनमा मात्र जीवित रहन्छ । घरको सपनाले नै कविता जीवित राख्छ । नेपाली सन्दर्भको ठूलो पुरस्कार मानिने मदन पुरस्कारले सम्मानित आदरणीय कवि ईश्वरबल्लभ भन्नुहुन्थ्यो, ‘घर पनि एउटा सपना हो, घर नभए कविता कहाँ राख्ने ?’ त्यसको जवाफमा अब ‘कविता राख्ने’ ग्लुकको सपनाको त्यो घर उनले प्राप्त गरेको नोबेल पुरस्कारको रकमले निश्चय नै पूरा गर्दै छ । सम्भवतः कविताप्रति पूर्णतः समर्पित उनका गर्मीका दिन यसपटकदेखि भर्मन्टको नयाँ घरमा र जाडाका दिन क्याम्ब्रिजमा बित्नेछन् । भर्मन्टको स्वप्नघरको लनबाट ग्रीष्मकालीन रात्रि आकाश हेर्दै लुइस ग्लुक फेरि पनि भन्लिन्, ‘मेरो साथी शशी उदाई/आजको रात ऊ सुन्दर देखिएकी छे/ऊ कहिले सुन्दर देखिएकी छैन र ?’

शनिबार विशेष

'मेगजिन कर’ को दुर्लभ रसिद !

जनताले मेगजिन कर तिरेको कागज सार्वजनिक भएको उति थाहा पाइएको छैन । भोजपुरमा पाइएको १४९ वर्ष पुरानो ऐतिहासिक यो कागज दुर्लभ हो ।
- भोगीराज चाम्लिङ

खासगरी नेपालको आर्थिक इतिहासका लागि विख्यात महेशचन्द्र रेग्मीले गाई–गोरुको मासु खाएबापत तिर्नुपर्ने ‘मेगजिन’ कर र दण्ड जरिवानाबारे थुप्रै चर्चा गरेका छन्, सरकारले जारी गरेका सक्कल कागज प्रकाशन गरेका छन् । तर, जनताले मेगजिन कर तिरेको कागजचाहिँ आजसम्म सार्वजनिक भएको त्यति थाहा पाइएको छैन । त्यस हिसाबले लगभग एक वर्षअघि विनोद राईले भोजपुरबाट संकलन गरेर पठाइदिनुभएको १४९ वर्ष पुरानो ऐतिहासिक यो कागज दुर्लभ हो । यो षडानन्द नगरपालिका–६, साल्मा (भोजपुर) का जीवन राईको घरमा पुराना कागजहरू पढ्ने क्रममा पदमबहादुर राईले फेला पार्नुभएको रसिद हो ।
१९२५ र १९२६ गरी दुई वर्षको बक्यौता झारा र मेगजिन कर बुझाएबापत १९२८ साल वैशाखमा साल्माका गुमानसिंह राईले यो रसिद प्राप्त गरेका थिए । रसिदमा उल्लिखित ‘झारा’ भनेको सरकारका लागि गर्नुपर्ने कामबापत प्रत्येक घरधुरीले तिर्नुपर्ने कर हो, जसलाई रसिदमा हलघर भनिएको छ । मेगजिन भनेको गाई–गोरुको मासु खाएबापत समुदायलाई लिइने कर हो, जो सुरुमै भनिसकियो । यो कर पहाडका थुप्रै समुदायले तिर्नुपर्थ्यो ।
रसिदको विवरण यस्तो रहेको छ–
स्वस्ति श्रीवक्यौतातहसीलकचहरिकस्य आगे दाषीला ... ... ... (अक्षर मेटिएको) माझकीरात मौजे दींगला सालमा गाउँकाका सालसालका झारा मेग्जीन् रकम्का आम्दानीमध्ये आयाको मार्फत् गुमान्सीं राईले १५ लम्बरका सवालबमोजीम् हस्ते नीजले सहिछाप गरि बुझायाको तपसीलबमोजीम्का ज्मा रु चार रुपैया दस आना रु ४।।४ सुकी... या डुर्गादास जीम्मा बक्यौता तहबील दाषील भयो तस्को रसिद गरि दीञ्यूँ
तपसील्– २५ सालको ः १२।।., झाराको ः १ऽ।., नीज हल घर १ के रु १ तीपकाजम्मा रु ः १ऽ।., मेगजीन् १ के २ तीप्का जम्मा रु ः २।—, २६ साल्को ः १२।।., नीज हल घर १ के रु १ तीपजम्मा रु ः १ऽ।., मेगजीन् १ के २तीप रुजम्मा रु ः २।., झाराको ः २ऽ।—, झाराको ः २ऽ।।., नीजसमेत् हल घर २ के ः २, तीप् घर २ के ः ऽ।।., मेगजीन् ः ।.।।—, हलहि घर २ के ः ।., तीप् घर २ के ः ऽ।।., २२।। गंडी रु ः ४, १६ गंडी रु ।।२/४।।२,
इती सम्वत् १९२८ साल वैसाषसुदी रोज शुभ्म् ।
माझकिरातका राईहरूले १९२८ सालसम्म मेगजिन र झाराबापत प्रतिवर्ष २–२ रुपैयाँ बुझाउँथे भन्ने कुरा यो रसिदबाट थाहा हुन्छ । रसिदमा मौद्रिक एकाइका रूपमा गन्डी उल्लेख छ । तर, त्यसबखत नेपालमा गन्डीसम्बन्धी एकरूप व्यवस्था थिएन । तेह्रथुम, डडेलधुरा, जुम्ला, दैलेख र माझकिरातमा १६ आना
(गन्डी) को एक रुपैयाँ मानिन्थ्यो, जब कि काठमाडौं उपत्यकामा योभन्दा फरक अभ्यास थियो (महेशचन्द्र रेग्मी, ल्यान्ड टेनर एन्ड ट्याक्सेसन इन नेपाल, भोल्युम १, सन् १९६३, पृष्ठ १९१) । माझकिरात र पल्लो किरातमै पनि पुस १९०६ मा २० गण्डीको १ रुपैयाँ प्रचलित थियो । त्यसलाई बढाएर २२ गन्डीको एक रुपैयाँ बनाउन सरकारद्वारा निर्देशन जारी गरिएको थियो (रेग्मी रिसर्च सेरिज, वर्ष ५, संख्या २, सन् १९७३, पृष्ठ ४०) । दिङ्लाबाट प्राप्त यो रसिदमा भने २२ गन्डी र १६ गन्डी दुवैको उल्लेख छ । आर्थिक प्रणालीसम्बन्धी छलफल गर्ने उद्देश्य नभएकाले यसबारे यति मात्रै भनिराखौं ।
िि
िगाईगोरुको मासु खाएबापत नेपालका थुप्रै समुदायले मेगजिन कर तिर्थे । रैथाने लवजमा अहिले पनि बूढापाकाहरूले ‘मेक्चन्, मेक्चन्नी’ भन्ने गरेका छन् । राई समुदायमा यो करलाई साफा पनि भन्ने गरेको पाइन्छ । मेगजिन वा साफाका रूपमा सम्बन्धित समुदायले सरकारलाई मूलतः हतियार निर्माणका लागि जरुरी हुने छाला, कोइला उपलब्ध गराउनुपर्थ्यो, अन्यथा करका रूपमा नगद रकम बुझाउनुपर्थ्यो ः
एक, १८५१ भदौ १ मा जारी सरकारी आदेशमा मरेको गाईगोरुको मासु खाने भोटे, हायू, सार्की र अन्य समुदायलाई दुइटा भैंसी या हात्तीको छाला, मृग या बाघको छाला सैन्य हातहतियार उत्पादन गर्ने कारखानालाई अनिवार्य उपलब्ध गराउन भनिएको थियो । त्यसो नभए सार्कीले ४ आना, अन्य समुदायले २ आना नगद जरिवाना दिनुपर्ने तोकिएको थियो । यो प्रबन्ध त्रिशूली–मादी, त्रिशूली–दुम्जा, दुम्जा–दूधकोसी, काली–मादी र दूधकोसी–तमोर क्षेत्रमा लागू गरिएको थियो (रेग्मी रिसर्च सेरिज, वर्ष ११, संख्या २, अगस्ट १९७९, पृष्ठ २१) ।
२ असोज १५, १८६१ मा जारी गरिएको आदेशमा अरुणभन्दा पूर्व, टिस्टाभन्दा पश्चिम बस्ने लिम्बू, भोटे, लाप्चे, याक्खा, लोहार, आठपहर, खमिरे र खम्बूहरूलाई मरेको गाईगोरुको मासु खाएबापत गोरख बक्स र शिवदल (गुल्म) का लागि हतियार राख्ने म्यान (दाप) बनाउन एकएक थान छाला उपलब्ध गराउनुपर्ने तोकिएको थियो । त्यो आदेशमा सार्कीलाई दुईवटा छाला, कामीलाई चाहिँ २० धार्नी कोइला उपलब्ध गराउनुपर्ने भनिएको थियोख (रेग्मी रिसर्च सेरिज, वर्ष ११, संख्या २, अगस्ट १९७९, पृष्ठ २१) ।
तीन, सन् १८०५ मा गीर्वाणयुद्ध शाहका पालामा जारी भएको आदेशमा सरकारलाई छाला नबुझाएमा गिरफ्तार गरेर भए पनि छाला लिने तथा परम्परागत प्रथाका कारण मरेका गाईगोरुको मासु खाएबापत जरिवाना तिर्न भनिएको छ । यसमा गुरुङ, रोहणी, मुर्मी (तामाङ), लिम्बू, सुनुवार, हायू, लामा, भुजेल, चेपाङ, किरात (राई), थामी, बरामु, पहरी इत्यादिलाई गाईगोरुको मासु प्रथाजन्य रूपमा खाने समुदायका रूपमा उल्लेख गरिएको छ (रेग्मी रिसर्च सेरिज, वर्ष ३, संख्या २, सन् १९७१, पृष्ठ ३१) ।
४ पुस १२, १८६७ मा त्रिशूलीपूर्वका गुरुङ र लामाका लागि जारी सरकारी आदेशमा काजी नारायण सिंहको सेनामा भर्ती भएर काँगडा मोर्चामा लडाइँ गर्न, हातहतियारका लागि आवश्यक छाला प्रबन्ध गर्न र ब्राह्मणलाई सम्मान गर्न बाध्यात्मक प्रबन्ध गरिएको थियो । त्यस्तै जसले मरेको गाईगोरुको मासु खान्छ, ब्राह्मणलाई सम्मान गर्दैन, उसलाई दण्डित गर्ने व्यवस्था गरिएको थियो । जब कि संवत् १८६२ मा गुरुङ र लामालाई मरेका गाईगोरुको मासु खान प्रतिबन्ध लगाइएको थिएन (रेग्मी रिसर्च सेरिज, वर्ष ११, संख्या २, अगस्ट १९७९, पृष्ठ २२) ।
५ फागुन ७, १८९० मा जारी गरिएको सरकारी आदेशमा संवत् १८९१ देखि लागू हुने गरी अरुणपूर्व झारा र मेगजिन कर काजी नरसिंह थापाले संकलन गर्ने कुरा उल्लेख छ । त्यसमा बक्यौता महसुल किस्ताबन्दीमा तिरेर रसिदहरू लिन, केही गुनासो भए नरसिंह थापालाई सुनाउनसमेत भनिएको छ (रेग्मी रिसर्च सेरिज, वर्ष ११, संख्या १०, सन् १९७९, पृष्ठ १४७) ।
यी पाँच तथ्यबाट थाहा हुन्छ– सरकारले मेगजिन कर मूलतः हतियार निर्माणमा सघाउ पुर्‍याउने गरी उठाउने, अन्यथा भएमा मात्रै नगदमा असुल गर्ने नीति लिएको देखिन्छ । त्यसैले ‘मेगजिन’ करको नाम हातहतियार भण्डारण गरिने घर (बारुदखाना) लाई बुझाउन प्रयोग हुने अंग्रेजी शब्द ‘म्यागजिन’ को अपभ्रंश हो भन्ने देखिन्छ ।
गोवध गरेबापत संकलन गरिने यस्ता जरिवाना ‘चोखोदण्ड’ नाममा संकलन गरेर केन्द्र सरकारलाई बुझाउनुपर्थ्यो (रेग्मी रिसर्च सेरिज, वर्ष ११, संख्या ९, सन् १९७९, पृष्ठ १३०) । त्यस्तै ‘ठेक–थिति’ नाममा हत्या, सैन्यविप्लव, हाडनाता करणी, जात नमिल्नेसँग हुने यौन सम्बन्धलगायत दण्डजरिवाना व्यक्तिहरूबाट असुल गरिन्थ्यो, जसमा गोवध गरेमा लिइने राजस्व पनि समावेश थियो । यी राजस्व रकम स्थानीय स्तरमा नियुक्त अमाली, जिम्मावालहरूले संकलन गरेर सरकारलाई बुझाउँथे (रेग्मी रिसर्च सेरिज, वर्ष ११, संख्या १०, सन् १९७९, पृष्ठ १५७–५८) ।
तर, मेगजिन कर देशभरि एकै दरमा संकलन गरिँदैनथ्यो । जस्तो कि कुन्छा र पोखरामा मेगजिन कर प्रतिघर ०.३२ रुपैयाँ लिइन्थ्यो भने तेह्रथुम क्षेत्रमा लिम्बू र गैरलिम्बूलाई प्रतिघर ०.०८ रुपैयाँका दरले असुल गरिन्थ्यो (महेशचन्द्र रेग्मी, ऐजन भोल्युम १, पृष्ठ ४६) । भोजपुरका राईहरूलाई चाहिँ १९२८ सालमा प्रतिघर २ रुपैयाँ मेगजिन करबापत असुल गरिन्थ्यो भन्ने प्राप्त रसिदले बताउँछ । सन् १९६३ (विसं २०२०) मा सरकारले झारा, बेठीसँगै खारेज गरिदिएपछि (महेशचन्द्र रेग्मी, ल्यान्ड टेनर एन्ड ट्याक्सेसन इन नेपाल, भोल्युम ४, सन् १९६७, पृष्ठ १५२) मेगजिन कर उठाउन छाडिएको हो ।
िि
िमहेशचन्द्र रेग्मीका अनुसार, फागुन १८६० मा ऐन जारी गरी गोवध गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गरिएको थियो । जुन ऐनमा गोवधलाई जघन्य अपराधका रूपमा परिभाषित गर्दै त्यस्तालाई शाही अदालतमा पेस गर्ने व्यवस्था गरिएको थियो । ऐनमा गोवधसम्बन्धी सूचना लुकाउनेहरूलाई पनि दण्डित गर्ने व्यवस्था गरिएको थियो । त्यति मात्रै होइन, गोवध हुने ठाउँसम्म लगेर गाईगोरु बेच्नेलाई पनि दण्डित गर्ने व्यवस्था ऐनमा थियो (रेग्मी रिसर्च सेरिज, वर्ष ११, संख्या ८, अगस्ट १९७९, पृष्ठ १२६) ।
सरकारले ऐन जारी गरे पनि लुकीचोरी गोवध हुन्थ्यो भन्ने त्यसबखतको एउटा घटनाबाट थाहा हुन्छ । केन्द्र सरकारसम्म उजुरी परेपछि मार्ग २, १८६२ मा सोलु, खुम्बु र चाँखुवासीलाई त्यसो नगर्न अलग्गै सरकारी आदेश जारी गरिएको थियो । जसमा भनिएको थियो– गोवध गर्ने व्यक्तिलाई मृत्युदण्ड तथा सिंगै परिवारलाई दासका रूपमा बिक्री गरिनेछ । सो आदेशमा फागुन १८६० पछि गाई काटेर खानेका हकमा यो नियम लागू हुनेछ भनेर पनि जानकारी गराइएको छ । आदेशमा गोवधबारे थाहा पाएर खबर नगर्नेलाई पनि दण्डित गरिने उल्लेख छ (रेग्मी रिसर्च सेरिज, वर्ष ११, संख्या ९, सन् १९७९, पृष्ठ १२९) । १८६० साल फागुनमा लडिमरेका अथवा मरेका गाईगोरुको मासुमा प्रतिबन्ध नलगाइए पनि गोरु बलि चढाएर पितृ र भूमिपूजा गर्ने संस्कृतिलाई भने त्यो ऐनले प्रत्यक्ष प्रभावित गरेको देखिन्छ । यद्यपि समुदायमा गहिरोसँग जरा गाडेको संस्कृति प्रतिकूलताका बीच अनुकूलित भएर निरन्तर रहँदो रहेछ । स्थलगत अध्ययनका क्रममा मैले थाहा पाएअनुसार, गोवध प्रतिबन्धको २१७ वर्ष (१८६०–२०७७) को अन्तरालमा किरात राईहरूको संस्कृतिमा चार प्रकारको फेरबदल आएको छ–
एक, गोवधमा प्रतिबन्ध लागेपछि कतिपय स्थानमा किरात राईहरूले साकेला नै मनाउन छाडे । त्यसको एउटा ज्वलन्त नमुना अर्खौले (हलेसी तुवाचुङ नगरपालिका, खोटाङ) गाउँको साकेलालाई लिन सकिन्छ । स्थानीय बुद्धिजीवी डिकवीर राईलाई पुर्खाहरूले बताएअनुसार, गोरु बलि चढाउन प्रतिबन्ध लागेपछि अर्खौलेमा साकेला पुज्न छोडियो । त्यहाँको साकेला थानचाहिँ अहिले पनि देख्न सकिन्छ ।
दुई, गोवधमा प्रतिबन्धपछि कतिपय किरात राई बस्तीमा चाहिँ त्यसलाई नयाँ स्वरूपमा निरन्तरता दिएको देखिन्छ । ओखलढुंगा जिल्लाको लिब्जुडाँडामा वाम्बुले राईहरूले माले गोरु बलि चढाएर भूमि तथा पितृपूजा गर्ने प्रचलन थियो । तर, अहिले लिब्जुमा जिउँदै गोरु छाडिदिने प्रचलन छ । त्यही प्रभावले त्यहाँ काटमार नगर्ने अहिंसा संस्कृति नै विकास भएको छ । लिब्जुलाई चढाइने परेवा, कुखुरासमेत बलि दिइँदैन, जिउँदै छोडिन्छ ।
तीन, आक्कलझुक्कल भीरबाट लडिमरेको अथवा मरेको गाईगोरुको मासु ल्याएर ‘अड्कोपड्को तेलको धूप’ भनेझैं एक–दुई टुक्रा सुकुटी बनाएर हरेक वर्ष छौवा, नागी, ढ्वाङकुमो, लेवा, साम्खाजस्ता पितृपूजा गर्दा चढाउने अवशिष्ट संस्कृति पनि अभ्यास भइरहेको छ ।
चार, धेरैजसो किरात राईहरूले पितृ या भूमिपूजा गर्दा भौतिक रूपमा सुकुटी या आलो मासु केही पनि चढाउँदैनन् । तर, मुन्धुममा भने बखान गर्ने गरेका छन् । थानमा चढाइएझैं गरी पितृपूजा गर्ने पुर्खा या धामीले मुन्धुमको रिसिया (श्लोक) मा यसरी पुकार गर्छन्–
चान्योउ द्यिङान्योउ खालिच्योउचोपिसा
(लौ पितृहरू खानुहोस् पिउनुहोस् गोरुको मासु)
चान्योउ द्यिङान्योउ खालिच्योउ हैदिसा
(लौ पितृहरू खानुहोस् पिउनुहोस् अर्ना/भैंसीको मासु)
चान्योउ द्यिङान्योउ खालिच्योउ दिबुङ्सा
(लौ पितृहरू खानुहोस् पिउनुहोस् अरिङ्गालको मासु)
चान्योउ द्यिङान्योउ खालिच्योउ वाकुसा
(लौ पितृहरू खानुहोस् पिउनुहोस् माछा, पाहाको मासु)

 

Page 8
शनिबार विशेष

आए, सबै याद आए

अम्बर गुरुङ भन्थे– 'संगीत रचनाको पहिलो र सबैभन्दा ठूलो पुरस्कार साङ्गेले दिएको दुई मुक्का थियो’
- देवेन्द्र भट्टराई

 

सन् १९७५, २४ नोभेम्बर
‘यो केके भयो र कसरी भयो
सबै कुरा यहाँ मुस्किल भयो
हामी भेटिनु त मुस्किल भयो
तर छुट्टिनु पनि मुस्किल भयो
तिमीबिना म धेरै रोएँ
तर एक्लै रुन झनै मुस्किल भयो—
रुमाल त हात राखेकै थिएँ
तर आँसु पुछ्न झन् मुस्किल भयो
तिमी आउन पनि मुस्किल भयो
त्यहाँ पुग्न मलाई झनै मुस्किल भयो
सुल्झाउन यत्ति मुस्किल भयो
कि मुस्किल अति नै मुस्किल भयो ।’

यो एउटा पत्रको सुरुवात थियो ।
अल्लारे वयका किशोर गुरुङ ज्याज म्युजिक सिक्न र लुइस बेंक्सलाई भेट्न काठमाडौंमा रत्नराज्य कलेजको पढाइ हापेर कलकत्ता पुगेका थिए । खास नाम डम्बरबहादुर बूढाप्रिथी रहे पनि भारतीय ज्याज संगीतको दुनियाँमा लुइस आज ‘गडफादर’ कहलिन्छन् । बुबा अम्बर गुरुङसँग बेंक्स परिवारको पुरानो चिनारीको नाता लिएर कलकत्ता पुगेका किशोरले लुइसलाई भेटे पनि । भेटपछि उनले किशोरलाई अर्का प्रखर ज्याज गिटारिस्ट कार्ल्टन किट्टोसँग म्युजिक सिक्ने प्रबन्ध पनि गराइदिए ।
किशोर ज्याज सिक्नमा तल्लीन थिए, एयरपोर्ट छेवैको दमदम होटलमा म्युजिक बजाएर खानाको जोहो गर्थे । तर, सुत्ने कोठाको समस्या परेर थुप्रैपटक सडकपेटी वा कतै प्लेटमफार्ममै रात बिताउनुपर्थ्यो । अत्यास–अत्यासलाग्दो यो क्षणमा बाबु–छोराबीच टेलिप्याथीजस्तो हुँदो रहेछ– बाबुले छोरालाई र छोराले बाबुलाई सपनीमा देख्ने ! त्यसबेला अम्बर भने नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत विभाग प्रमुख थिए, आफ्नो संघर्षको चौघेराभित्र । त्यही चक्रावातमाझ अम्बर गुरुङले छोरा किशोरको नाममा एउटा पत्र लेखे, पत्रको सुरुवातमा सम्बोधनलगत्तै उपरोक्त मुस्किल भावको गीत लेखिएको थियो । बाँकी पत्रमा लेखिएको थियो–

प्यारो छोरा किशोर,
तिम्रो पत्र पाएँ । तिम्रो पत्र हेर्दा तिमी अलिक निराश भएको भान हुन्छ, त्यसो नहुनु । आज तिमीलाई एक–दुई कुरा लेख्न मन लाग्यो, सपनामा पनि तिमीलाई देखें, यी कुराहरू जे म लेख्दै छु, त्यसलाई कोरा भावुकता नभन्नू । यी कुराहरू एउटा कलाकारको जीवनमा उठेको तुफान र संघर्षबीचमा परेको अनुभवबाट खारिएर झरेका कुरा हुन् भनी बुझ्नू ।
नित्से भन्छन्– पर्खालमै तिम्रो द्वार छ । यसको अर्थ अहिले बुझ्दै छु । संघर्ष र अभावग्रसित भएर गरेको अभिव्यक्तिजस्तो महान् कुनै पनि अभिव्यक्ति हुँदैन । त्यसैले छोरा, निरुत्साह नहुनु । मैले तिमीहरूलाई ऐसआराम दिन कहिल्यै सकिनँ तर, माया–प्यार जो तिमीहरूलाई दिइरहेछु, त्यसको खण्डन कुनै पनि कुरोले गर्न सक्दैन । छोरा, अभावग्रसित भएरै पनि आफ्नो लक्ष्यदेखि विमुख नहुनु । संघर्षको तलावमा नै सफलताको कमल फुलेको हुन्छ । तिमी सोचेर हेर द्दत— ब्राक, मोर्जाट, बिथोवेन, फ्रान्ज सुबर्ट— कुन चैं कलाकार अभावग्रसित थिएनन् । ज्याजकै इतिहासमा पनि तिमीले साच्मो (लुइस डेनियल), ड्युक एलिङ्टन आदिलाई लिन सक्छौ । यसो भनेको तिमी संघर्षमा आत्मसमर्पण गर भनेको होइन तर, यसबाट तिमीले अझ बढेर उत्साह लिनुपर्छ ।
तिमी सफल अवश्य हुन सक्छौ । प्रथमतः तिमीमा मेरोजस्तो सर्टकमिङ्सहरू छैन । तिमीलाई रक्सी र गाँजाभाङको आवश्यकता छैन र, यसले तिमीलाई कहिल्यै छेकारो हाल्न सक्तैन भनेर आमा र मलाई पूरा विश्वास छ । तिमी चिन्ता नगर्नू । खुब परिश्रम गर्नू । एकचोटिमा एक घण्टाभन्दा बढी फिङ्गर्स (औंलाहरू) लाई ‘स्ट्रेन’ नगर्नू । छोरा, दश/पन्ध्र मिनेट बिसाएर मात्र सुरु गर्नू । (गिटारवादकलाई हुन सक्ने ‘फोकल डिस्टोनिया’ रोगबाट बच्नका लागि औंला प्रयोगमा यो उपाय अपनाउनू ।)
— तिम्रो बाबा
यो पत्र पाएपछि किशोर एक प्रकारले स्तब्ध भए, दमदम होटलको लवीमा यताउता गर्दै किशोरले दर्जनौंपटक यो पत्र पढे । दुःख र संघर्ष सही, बुबा अम्बरकै सानिध्यमा बसेर केही काम गर्ने ध्याउन्न उनमा पलाएको थियो । अनि झिटीगुन्टा बोकेर सरासर फर्किए काठमाडौं ।
तर अझै पनि– भनौं न, यतिका वर्षपछि र बुबा अम्बर बितेर गएको वर्षौं बितिसक्दा पनि छोरा किशोरले भेउ पाइसकेका छैनन्, नित्सेले भनेको कुरा– पर्खालमै तिम्रो द्वार छ । ‘यो द्वार मैले अझै भेटेकै छैन,’ उमेरमा ६५ छेकका किशोर अहिले पनि भनिरहेका छन्, ‘म द्वार खोजेको खोज्यै छु ।’
२०७१, फागुन १४
संगीतज्ञ अम्बर गुरुङसँग जोडिएका उनका शिष्य र शुभेच्छुकहरू कम्तीमा वर्षको दुईपटक अम्बर निवास पुगेकै हुन्थे– अम्बर जन्मदिन (फागुन १४) र सरस्वतीपूजा ।
त्यस दिनको माहोल भने निकै भिन्न, अनौपचारिक र मिसमास हुन्थ्यो । देवीदेवताको प्रार्थना–बन्दनादेखि अन्तरंग अनौपचारिक वार्तालापसम्म । मनपरेका गीतको फर्माइसदेखि रागरागिनी व्याख्यानसम्म । ‘मैले फेरि दोहोर्‍याउँदै कलाकार भ्यानगोगको जीवनी–कृति पढिसिध्याएँ– लस्ट फर लाइफ,’ अम्बरले जन्मोत्सवको एउटा साँझ जीवन–जगत्का बारेमा बोल्न चाहेजस्तो लाग्यो, ‘यो किताब पढेर म फेरि रोएँ । धन्य, म भने भ्यानगोगजस्तो दुःख र सास्तीको त्यो चरणमा पुगेको छैन, किनभने वरपरमा तिमीहरू जस्ता चेलाचेली मसँग छन् । यो किताब तिमेरुले नि पढ्नू...।’
त्यसपछि सुरु भयो एउटा माहोल । अनि कहिल्यै नसुनेको र नसोचेको गीतको लय सुरु भयो किनभने यसको धुन, ट्युन, संगीत के होला भन्ने पत्तै थिएन । छेवैमा बसेका शिष्यहरू आभाष, गोविन्द थापा, राजकुमार श्रेष्ठ, झुमा लिम्बू, शेखर श्रेष्ठ आदि–इत्यादि अलमलमै हुन्थे । अनि अम्बर सर हार्मोनियम नोटका भरमा एक्लैले सुनाउँथे–
‘एक लाल सुन छैन,
निस्तो भात नुन छैन
तैपनि त बाँचेकै छौं,
हामी नेपाली...
स्कुलका ढोकासम्म गाई चराउन गयौं
सहरमा काम खोज्दा भोकभोकै रह्यौं
पेटीमाथि सुत्यौं
नेताहरू भाषण गर्छन्—हिम्मत नहार
भोकै बस तर देशलाई गाल नपार...’

सन् २००८, माघ
‘हिमाली पाखा दार्जिलिङ
चियाको पसल थापेर
पसिनाबाट सुगन्ध फुल्ने
कामना गर्छ दार्जिलिङ...’
अम्बर टर्नबुलमा कक्षा ८ मा पढ्दाको कुरा हो, उनले देउसी वा पिकनिक भेला अथवा कुनै सामाजिक उत्सवमा सुहाउने गरी संगीत रचेका थिए । त्यसमा शब्द, संगीत र स्वर कुन बान्कीको थियो भनेर फ्याट्टै सम्झन नसके पनि सिंगो रचनाको प्रभाव भने
बिर्सिनसक्नुको छ ।
त्यही सांगीतिक रचना स्कुलका केही शिक्षकसमेतले सुनेका रहेछन् । त्यही रचना (उपरोक्त गीत) स्कुलको वार्षिक पुरस्कार समारोहमा गाउने निधो भयो । त्यसपछि गीतको रिहर्सलमा २०/२५ विद्यार्थीको हुल भेला भएको थियो । त्यो हुलमा साङ्गे नामको एउटा भोटे केटो पनि थियो, जसको स्वर धोद्रे मात्रै होइन, ‘अति धोद्रे’ नै थियो र एकदमै पिच–आउट पनि ! कुनै कलर–ब्लाइन्ड व्यक्तिले रंगको भेद छुट्ट्याउन नसकेजस्तो उसले स्वर र नोट
छुट्ट्याउन सक्दैनथ्यो । रिहर्सल सुन्न आएका शिक्षकले पनि यो तथ्य एक दिन पहिल्याए । अम्बरले एक–दुईपटक त्यसलाई गीत गाउन लगाइहेरे । जतिचोटि उसले गाउँथ्यो, त्यति नै चोटि हाँसोको फोहरा उठ्थ्यो । त्यसपछि ऊ गायन समूहबाटै निकालियो । यो निकालालाई साङ्गेले आफ्नो ठूलो अपमान ठानेको रहेछ, र यसको बदला लिइछाड्ने अठोट गरेको रहेछ । एक बेलुकी अम्बरलाई उनका बाले केही किन्न पसलमा पठाएका थिए । त्यो साङ्गे त बाटो ढुकेर बसेको रहेछ । उसले एकाएक झम्टिँदै अम्बरलाई सोध्यो, ‘तैंले त्यस्तो अप्ठेरो संगीत किन बनाइस् ? मलाई इन्सल्ट गर्न ?’
अलिक पछि सर्दै अम्बरले डराएको स्वरमा भने, ‘त्यो त एकदम सजिलो गीत हो । तैंले नै गाउन नसकेको...!’
यो वाक्य पनि टुंगिन नपाउँदै साङ्गेले अम्बरको मुखमा दुई मुक्का हान्यो । उनी रुँदै घर फर्किए । घरमा बाहिर आँगनमै भेटिए बा उजिरसिंह । उनले सोधे, ‘किन रोएको ?’
‘साङ्गेले मलाई कुट्यो ।’
‘अन्ता तैंले कुटिनस् ?’
‘त्यो मभन्दा बलियो छ ।×’
‘थुक्क छ तँलाई ! त्यो भोटे हो, हामी गोर्खाली ! त्यसलाई गोर्खालीकै छोरा भएर जवाफ दिन सकिनस् ? अब फेरि रुँदै आइस् भने तैंले मेरो नाकै काट्नेछस् ।’
यो सानो तर सम्झनलायकको घटना भएका बेला घरमा आमा रेनुका थिइनन् । बुबाको भनाइले अम्बरलाई मनैमनमा अझ कठोर बनाएको थियो । आफूले कुटाइ खाएको क्षण र बाबुको कठोरतालाई सम्झेरै उनी त्यो साँझ भुसुक्क निदाए । भोलि बिहान उठ्नेबित्तिकै साङ्गेलाई हान्न भनेर उनले ढुंगा–इँटाका टुक्रा भेला पारेका थिए, एउटा लौरो पनि राखेका थिए । तर, साङ्गेलाई उनले अहिलेसम्म फेरि कहिल्यै भेटेनन् । ‘संगीत रचनाको पहिलो र सबैभन्दा ठूलो पुरस्कार साङ्गेले दिएको दुई मुक्का थियो,’ यो कुरा एकदमै सम्झन र भन्न आफ्नो मुख चिलाइरहेको थियो भन्थे अम्बर ।
केही दिनमा आमा रेनुका घर फिरेर आएकी थिइन् । उनले पनि आमालाई सबै इतिवृत्तान्त सुनाए । सबै सुनेर आमाले पनि संयमी स्वरमा भनिन्, ‘बुबाले तँलाई भनेको कुरा तँलाई अहिले ठीक नलाग्ला तर उहाँले भनेको कुरा एकदम ठीक हो, तिमारुले अहिलेदेखि नै आफूलाई बचाउन सिक्नुपर्छ । म र तेरो बा जो अघिपछि मरे पनि तिमारुलाई हामी साथै लैजान त सक्दैनौं
नि ! अहिलेको दार्जिलिङ कति बिग्रेको छ र कति भर नपर्दो भएको छ, त्यो कुरा हामीले जस्तो तिमारले बुझेका छैनौ र बुझ्न सक्दैनौ पनि । हामी आमा–बा छोराछोरीलाई कत्तिको माया गर्दा रहेछौं, त्यो ता पछि समय आएपछि बुझ्नेछस् ।’

फागुन २७, २०६१ शुक्रबार
आज अम्बर गुरुङ र म ‘ब्ल्याक’ हेर्न गयौं । १२ वर्षपछि हलमा फिल्म हेर्न आएको इतिवृत्ति सुनाए अम्बरले । ‘थ्यांक्यु’ भने उनले अन्त्यमा । ‘हिन्दीमा पनि यत्तिका बेजोड चलचित्र’ भन्दै उनको गहभरि आँसु देखिन्थ्यो । उनी मोनोलग शैलीमै बोलिरहेका थिए ।
तर, ‘ब्ल्याक’ भन्दा चर्को स्मृतिमा आउने गरी त्यसबेलाको जय नेपाल यात्राको बुहार्तन मेरो मनमा गढेको थियो, छ । सर्वश्री अम्बर गुरुङ र म जय नेपाल हलको फिल्म प्रवेशद्वारमा थियौं । स्वभावतः नियमअनुसारको छामछुम भयो नै । अम्बर सरको कोटको खल्तीमा बलवान् छाप खैनी भेटियो । यो एजी सरको वर्षौंवर्षदेखिको अम्मल थियो । अनि हलभित्र प्रवेश पाइएन, खैनीसहित । अब के गर्ने ? हामी बाहिरै बस्यौं । अम्बर सर स्वयंले आइडिया ल्याउनुभयो– तपाईं पछि यो खैनी मोजाभित्र लुकाएर ल्याउनुहोस्, म अहिले भित्र छिर्छु ।
त्यसै गरियो । गेटपालेले पत्तै पाएन । भित्र हलमा ‘ब्ल्याक’ सिनेमामा अमिताभ बच्चनले जतिजति बेहोसी र भुलक्कड टाइपका संवाद अघि बढाउँछन्, उतिउति नै बलवान् छाप खैनीको खिल्ली ओठमा च्याप्नुहुन्थ्यो अम्बर गुरुङ । अनि यसो ओठको कापबाट
दोबारेर खैनीको पुरानो खिल्ली निकाल्नुहुन्थ्यो– कतै कुर्सी कुनोमा हुत्याउन । साथैमा बसेको मलाई भने हुन्थ्यो– कि मुस्किल अति नै मुस्किल भयो !

 

शनिबार विशेष

छोरा पाउँदिनस् !

- अनिता न्यौपाने

 

घरमा बुबाको श्राद्ध थियो । हामी टीका लगाउन लाम लाग्यौं । पहिले छोरी अनि म । पुरोहितले मेरो निधारमा केशरी लतपतिएको बूढीऔंलो घसार्दै सोधे, ‘कति छन् बच्चाबच्ची ?’
– ‘यही एउटी छोरी ।’
– ‘आम्मै कहाँ हुन्छ ! छोरा त चाहियो नि !’
– ‘तपाईंका छोराहरू के गर्छन् नि ?’
– ‘कोही ड्राइभर छन्, कोही काठमाडौंतिर हल्लिरहेका छन् !’
– ‘खुसी हुनुहुन्छ त छोराहरूदेखि ?’
– ‘खुसी त छैन । तर, सन्तुष्ट छु । गर्वका साथ भन्न पाएको छु– मेरा छोरा छन्, त्यो पनि तीन–भाइ ।’
– ‘मेरी छोरी मेरा लागि सन्तुष्टि, गर्व, रहर, सपना सबै हो । तपाईंको र मेरो रोजाइको विषय फरक छन् पक्कै !’
यस्ता प्रश्नको सामना गर्ने ममात्रै होइन । अनि तपाईं मात्रै पनि होइन । तपाईं–हामीजस्ता धेरैजसोलाई बर्सिरहेकै हुन्छन् परम्परावादी प्रश्नहरू ।
छोरीलाई ‘अर्काको घर जाने जात’, ‘अर्काको नासो’ भनिएको सुन्नुभएको छैन भने एकचोटि सोच्नुस्– तपाईं यही समाजमै बसिरहनुभएको छ ? अझै पनि धेरै महिला छोरा नजन्माएकैले घरबाट निकालिन्छन् । लिंग पहिचानपछि भ्रूणहत्याको ग्राफ उकालो लागिरहेकै छ । ‘ढिकुरोको पुजारी’ जन्माउनकै लागि लोग्नेहरू दोस्रो विवाहको तयारीमा छन् । लोग्नेको यातनापछि आत्महत्या गर्नेहरू पनि बढेकै छन् ।
कुनै उत्सव वा कार्यक्रम होस्, गाउँका मान्छेहरूको पहिलो प्रश्न यही हुन्छ, ‘छोरा कहिले पाउने ?’ अनि प्रश्नसँगै सुरु हुन्छन् झर्कोलाग्दा उपदेशहरू– छिटो गर् पछि पछुताउलिस् । उमेर हुँदै पाउनुपर्छ, उमेर नाघेपछि फेरि गाह्रो हुन्छ । लोग्ने फेरि अर्को केटीपट्टि लाग्लान् नि ! होस् पुर्‍याउनू ! केटा मान्छेको त भर हुन्न है !
वास्तवमा म निकै भागेँ प्रश्नहरूसँग । लामो समय माइती गइनँ, देखिइनँ मान्छेहरूमाझ । अब त अति भो । कति भोगूँ तनाव ! कत्तिलाई गाली गरौं ? कत्तिलाई जवाफ दिऊँ ? अब लिन्नँ तनाव, दिन्नँ जवाफ कसैलाई । चाहे जति नै छुटून् अब सम्बन्धहरू ।
िि
िम पनि तीन दिदी–बहिनीमध्येकी माइली हुँ । दाजु–भाइ छैनन् । हामी आफ्ना दुःख दिदीबहिनीमै बाड्छौँ । आमालाई दुःख दिएका छैनौं । आमालाई हामीमाथि गर्व छ, हामीलाई आमामाथि ।
म सानो छँदा हजुरबा–हजुरआमाले ‘अब यसको वंश सिद्धिने भयो’ भनेर आमालाई धेरैपटक रुवाएको घटना मेरो स्मृतिमा ताजै छन् । छोरा नहुँदा आमाले प्रत्येक दिन भोगेका बुहार्तन म सायदै बिर्सन सक्छु । गाउँतिर, बिहे–बटुलतिर गइरहेकी आमालाई मान्छेहरू भन्थे– ल हेर, छोरीको लर्को लेर आई ! छोरा नभएसम्म यसको पानी चल्दैन ! मरेपछि यसको काजकिरिया कसले गर्छ ? अनेक प्रश्न र विस्मय बोकेर सदिऔंदेखि बाँचिरहेको छ
मेरो समाज ।
मेरी आमाले त छोरा जन्माइनन् । सानिमाको दुःखको कथा पनि उत्ति फरक छैन । बिहे भएको वर्षौंसम्म पनि सानिमाको गर्भमा बच्चा बसेन । अनेकौं धामी–झाँक्री लगाइयो । अनेकथरी झार–जडीबुटी खुवाइयो । बेलैमा अस्पताल पुर्‍याउन नसकेको भए सायद सानिमाले आजको दिन देख्ने थिइनन् । बिहे गरेको १९ वर्षसम्म बच्चा नहुनुको दोष सानिमा एक्लैले आफ्नो थाप्लोमा बोकिरहिन् । २० औं वर्षमा अस्पतालमा लाखौं रुपैयाँ खर्च गरेर सानिमाले छोरा जन्माइन् । त्यसपछि उनको मुहारमा फुलेको सन्तान–सुखको फूल साँच्चै हेर्नलायक थियो ।
आमाले जस्तै, सानिमाले जस्तै मैले पनि जीवनभर एउटै प्रश्नको सामना गरिरहनुपर्ने ? हजुरआमा, आमा, छोरी– सबै पुस्ताले दुःखको उही जाँतोमा घुमिरहनुपरेको छ । हामी छोरीहरूको यो कस्तो नियति ? जुन घरमा दुर्गा, देवी, लक्ष्मी, सरस्वतीको पूजा हुन्छ, त्यही घरमा कैयौं बुहारीहरू छोरा पाउनैपर्ने दबाबमा बाँचिरहेका छन् । वास्तवमा हाम्रा धेरै बुहारी मानसिक तनावमा छन् । समाजले यस्तो व्यवहार प्रदर्शन गर्छ– मानौं छोरा नजन्माएर आमाहरूले जघन्य अपराध गरिरहेका छन् र उनीहरू दण्डका लायक छन् ।
पढेलेखेका, स्कुल–कलेजतिर समानताको पाठ पढाउने व्यक्तिबाट पनि यस्ता प्रश्न आउँछन् । छोरा नजन्माएका दम्पतीलाई उनीहरूको दबाब हुन्छ– कुलको दीप नबल्ने भयो तपाईंको घरमा ! जहिले पाए पनि हुन्छ, एउटा छोराचाहिँ पाउनुस् ! भोलिको भविष्य भनेकै छोरा हो ! छोरीले त छोडेर
गइहाल्छन् ! छोरीका लागि साथी पनि त चाहिन्छ !
पारिवारिक दबाब ! सामाजिक दबाब ! मानसिक दबाब ! दबाबको विशाल चट्टानले थिचिएर मानिसहरू जीवनभर दुःखको यात्रा गरिरहेका छन् । दबाबैले कलेज जाने छोरीका अघि भर्खरै छोरा पाइरहेका आमाहरू हाम्रै आँखाअघि देखिन्छन् । आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा छोरीहरूमाथि गरेको व्यवहारमा हाम्रो समाजले कहिल्यै आत्मसमीक्षा गरेको छैन ।
एउटा घटना पढौं । एक जना शिक्षक छन्, उनी कविता पनि लेख्छन् । श्रीमतीले छोरीको रहर सुनाइरहँदा उनी छोरै पाउनुपर्छ भनेर श्रीमतीलाई अस्पतालमा तर्साइरहेका थिए । त्यति मात्रै होइन, समाजका उच्च तहका नागरिक पनि श्रीमतीको पेटमा छोरा कि छोरी भनेर गरिने भ्रूणपरीक्षणको लाइनमा उभिएका भेटिन्छन् । उफ्, भ्रूणपरीक्षणको लाइनमा उभिएका उनीहरूको विचार हुन्छ–
छोरा भए राख्ने, छोरी भए फाल्ने ! सम्झेरै नौनाडी गल्छ मेरो ।
जसरी सदिऔंदेखि आमाहरूले यस्ता प्रश्नको सामना गरे, अबको पुस्ताले यी प्रश्न गर्नेलाई भन्न सक्नुपर्छ– म मेरी छोरीमै सन्तुष्ट छु ! लोग्नेलाई श्रीमतीले भन्न सक्नुपर्छ– मेरो कोख मेरो अधिकार ! म कसैका लागि बच्चा जन्माइरहन सक्दिनँ !
मैले छोरा नजन्माउँदा मसँग तपाईंका अनेक गुनासा होलान् । तर, माफ गर्नुहोस्, म मेरो निर्णय बदल्ने छैन ।

शनिबार विशेष

पढ्न सके पो पढ्नु

'पढेर को ठूलो मान्छे भएको छ ? तिमीहरूले जति पढे पनि तिमीहरूका भाग्यविधाता हामी नै रहेछौं । कि कसो ?’
- शरच्चन्द्र वस्ती

हरिनगरको श्रीहरि सुपरमार्केट तपाईंले देख्नुभएकै होला । त्यो शहरको सबैभन्दा ठूलो र भव्य सुपरमार्केट हो । कुनैवेला त्यस ठाउँमा श्रीहरि माध्यमिक विद्यालय हुनेगर्थ्यो । त्यो त्यस क्षेत्रको सबैभन्दा ठूलो र भव्य विद्यालय थियो । अहिले देशका उच्च पदमा पुगेका धेरै मानिस त्यही विद्यालयका उत्पादन हुन् ।
पचास वर्ष अघिको कुरा हो । विद्यालयमा एकै वर्ष कक्षा ५ मा भर्ना भएका सात विद्यार्थी घनिष्ठ मित्र थिए । तिनको मित्रता देखेर प्रधान अध्यापक हरिचरण उदेक मान्थे, किनभने सातै जनाको नाम ‘हरि’ बाट शुरू हुने बाहेक उनीहरूको रुचि, स्वभाव र व्यवहार केही मिल्दैनथ्यो । न प्रतिभा समान थियो, न कुल–खानदान नै । कुन चुम्बकले उनीहरू जोडिएका हुन्, कसैलाई थाहा थिएन ।
तीमध्ये हरिदेव राजा हरिवरणको छोरो थियो । बडो सुकुमार शरीरको । बाबुको सेखपछि आफू स्वतः राजा हुने बुझेको ऊ अरूलाई गन्दैनथ्यो । उसलाई पढाइमा पटक्कै रुचि थिएन र खेलकूदमा पनि । स्कूल जीवनभरि कक्षा ५ को स्थायी विद्यार्थी रहृयो । उमेर बढ्दै जाँदा साथीहरू केटी जिस्क्याउन थालेका थिए, उसलाई त्यसमा पनि चासो थिएन । हरिप्रसादसँग भने उसको विशेष घनिष्ठता थियो । साथीहरू कहिलेकाहीं उसलाई ‘हरिदेवी’ भनेर जिस्क्याउँथे । ऊ हरिप्रसादसँगै मुस्कुराउँथ्यो ।
हरिप्रसादलाई पढ्नमा खूब रुचि थियो । ऊ रात–रातभरि पढिरहन्थ्यो । चुटकिलाहरूका संग्रह, जासूसी र तिलस्मी उपन्यास, अपराध कथा र मनोहर कहानियाँ मार्का पत्रिका उसका प्रिय पठन–सामग्री थिए । ज्ञान–विज्ञानका नाममा चलेका हल्ला र उडन्ते कुराले भरिएका दर्जनौं पुस्तक उसले कण्ठस्थ पारेको थियो । तिनका आधारमा आकाश–पातालका कुरा जखेर साथीहरूलाई मात्र होइन, शिक्षकहरूलाई समेत जिल्ल पार्न उस्ताद थियो । स्कूलका पाठ्यपुस्तक र गम्भीर विषयका किताब भने पढ्न सक्तैनथ्यो । तिनको आवरण पृष्ठ पल्टाउनासाथ उसलाई टाउको दुख्न थाल्थ्यो र माइग्रेनले निस्लोट भएर ढल्थ्यो । भोलिपल्ट बिहान तीन पटक उल्टी गरेर कालो चिया खाएपछि मात्र चंगा हुन्थ्यो ।
तेस्रो साथी हरिबोल ती दुवैको मिस्कट जस्तो लाग्थ्यो । पढ्न भनेपछि उसलाई ज्वरो आउँथ्यो र ठूलठूला डीङ हाँक्न कसैले भेट्तैनथ्यो । विद्यार्थीलाई थर्काउन, मुक्याउन र अर्काको खाजा खोसेर खान उस्ताद ऊ हरिप्रसादको पुच्छर जस्तो थियो । दुवैले कक्षा ८ छिचोल्न सकेनन् ।
हरिमान र हरिमाया मध्यम स्तरका विद्यार्थी थिए । खूब मिहिनेत गरेर पढ्थे र बढीभन्दा बढी नम्बर ल्याउन प्रतिस्पर्धा गर्थे । राम्रा, सफा अक्षरमा गृहकार्य गरेर ल्याउने उनीहरू शिक्षकका प्यारा थिए । अर्को साथी हरिलाल थियो, जसका अक्षर फोहोरी थिए र चाल सुस्त थियो, तर दिमाग एकदमै तेज । गणित र विज्ञानका कठिन फर्मुला शिक्षकले ब्ल्याकबोर्डमा हल गरिनसक्तै उसलाई कण्ठ भइसक्थे ।
सातौं साथीको नाम हरिहर थियो । असाध्यै सिर्जनशील दिमाग भएको ऊ ठाउँको ठाउँ राम्रा कविता रच्न सक्थ्यो । पाठ्यक्रममा भएका कथाहरूको पुनर्लेखन गरेर मूल कथाभन्दा छरिता र आकर्षक बनाए बापत हरेक वर्ष शिक्षकहरूबाट स्याबासी पाउँथ्यो । उसलाई सबैभन्दा बढी आनन्द चाहिं हरिचरण सरले कविताका पंक्तिमा लुकेको जीवन–जगत्को रहस्य खोतलेको सुन्दा प्राप्त हुन्थ्यो ।
सातै जनाले एकैचोटि स्कूल छोडे । हरिमानले राम्रो अंक ल्याएर डिग्री पूरा गर्‍यो र सरकारी सेवामा प्रवेश गरेर चाँडै सचिव बन्यो । तलब धेरै नभए पनि सरकारी सुविधा मनग्य थियो र अतिरिक्त आम्दानी पनि प्रशस्त हुन्थ्यो । मालदार मन्त्रालयमा रहिरहन कुन नेतालाई कसरी घाँस हाल्ने भन्ने उसले राम्ररी बुझेको थियो । हरिमायाले कलेजमा सर्वोच्च स्थान हासिल गर्दै एमबीए सिध्याई र महीनाको १५ लाख तलब खाने गरी एउटा बैंकमा सीईओ भई । लोभलाग्दा ‘अफर’ ल्याएर ग्राहक आकर्षित गर्ने र तिनको घाँटी ङ्याकेर बैंकको नाफा बढाउने कलामा ऊ दक्ष थिई ।
हरिलाल र हरिहर छात्रवृत्ति पाएर पढ्न अमेरिका गए । हरिलालले भौतिकशास्त्रमा पीएचडी गर्‍यो र नोबल पुरस्कार विजेता वैज्ञानिकसँग काम गर्न थाल्यो । हरिहरले दर्शनशास्त्रमा पीएचडी गर्‍यो र केही वर्षमा आफूले पढेको विश्वविद्यालयमा डीन हुन पुग्यो । दुवैले अनुसन्धानमा ख्याति कमाए र देशका लागि केही गर्ने सल्लाह गरेर स्वदेश फर्के ।
यसैबीच राजा हरिवरणको मृत्यु भएर हरिदेव राजा भइसकेको थियो । गफाडी हरिप्रसादले केही वर्ष चना फँक्याउँदै, बयलगाडामा गाउँको चक्कर लगाउँदै र नानाओली आकाशपातालका गफ दिंदै बितायो । यसै क्रममा ऊ राजनीतिमा लागेको थियो र उसको छत्रछायामा हरिबोल गुण्डा र तस्करहरूको नाइके बनेको थियो । ऊ आफूलाई ‘डन’ भन्थ्यो । गिट्टी–बालुवा र वन्यजन्तुको तस्करी तथा सरकारी जग्गा कब्जा उसको मुख्य धन्दा थियो । आफू पढेको श्रीहरि माध्यमिक विद्यालयको जग्गा कब्जा गरेर उसैले त्यहाँ श्रीहरि सुपरमार्केट खोलेको थियो । विद्यालय भवन नभत्काउन आग्रह गर्दै रिटायर्ड प्रधान अध्यापक हरिचरणले उसका खुट्टा समातेर क्वाँ क्वाँ रुँदा पनि उसको मन पग्लिएन ।
राजा भए पनि हरिदेवसँग रानी थिइनन् । बिहा गरेको एक वर्ष नबित्दै नजाने के कारणले हो, उनी दरवारकै सईससँग हिंडेकी थिइन् । त्यसपछि हरिदेवले बिहा गरेन । दरवारमा दास–दासीहरू सरोबरी थिए, तर आफ्नो अन्तःपुरमा उसले पुरुष सेवक मात्र राखेको थियो । ऊ तिनैसँग रमाउँथ्यो । ‘किन बिहा नगरेको ?’ भनेर कसैले प्रश्न गर्दा उसको जवाफ हुन्थ्यो, ‘म त राष्ट्रकै पति हुँ नि । एउटीको मात्र पति किन हुनुपर्‍यो ?’ भनिन्थ्यो, अन्तःपुरमा ऊ स्त्री–वेशमा रहने गर्छ ।
राजगद्दी सम्हाले लगत्तै उसले हरिप्रसादलाई प्रधानमन्त्री बनायो । राजकाजका सबै निर्णय हरिप्रसादले गर्थ्यो र हरिदेवको काम लालमोहर लगाएर त्यसको घोषणा गर्नु मात्र हुन्थ्यो । हरिप्रसादले दरवारमा निर्बाध प्रवेश पाएको थियो । आफ्नो निर्णयमा सही गराउन ऊ जुनसुकै वेला त्यहाँ पुग्थ्यो र हरिदेवसँग लामो एकान्त–वार्ता गर्थ्यो ।
प्रधानमन्त्री हरिप्रसाद सामान्य मानिसका लागि दुर्लभ थियो । चार जना पढन्ते साथीहरू छ महीनादेखि उसलाई भेट्न नपाएर छटपटिएको थाहा पाएपछि हरिबोलले आफ्नो घरमा भेटघाटको चाँजो मिलायो । रिटायर्ड हुन लागेको सचिव हरिमान राजदूत हुन चाहन्थ्यो । सीईओ हरिमाया केन्द्रीय बैंकमा उच्च राजनीतिक नियुक्ति चाहन्थी । उनीहरू नोटले भरिएको ब्रीफकेस बोकेर आएका थिए । विदेशबाट फर्केका दुई डाक्टरसँग भने देशमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र स्थापना गर्ने योजना थियो । उनीहरूले भने, ‘सरकारले अनुमति मात्र दिए पुग्छ, सारा खर्च हामी आफैं जुटाउँछौं ।’
हरिप्रसाद जोडले हाँस्यो, ‘पढेर को ठूलो मान्छे भएको छ ? तिमीहरूले जति पढे पनि आखिर तिमीहरूका भाग्यविधाता हामी नै रहेछौं । कि कसो ?’
हरिबोल डाक्टरहरूतिर फर्क्यो, ‘कुरा भनेको स्पष्ट हुनुपर्छ । सचिव र सीईओले त ब्रीफकेस ल्याइसकेका छन् । तिमीहरूबाट चाहिं हामीलाई के सहयोग हुन्छ ?’
डाक्टर हरिलाल रन्कियो, ‘खर्च त हामीले अनुसन्धानका लागि ल्याउने हो । तिमीहरूलाई कहाँबाट ल्याएर पैसा ख्वाउनु ?’
भनिरहनु नपर्ला, त्यस दिन तिनको काम भएन र अरू छ महीना मन्त्रालय धाएपछि निराश भएर दुवै डाक्टर फेरि विदेशतिरै लागे ।
प्रधानमन्त्री भएपछि गफाडी हरिप्रसाद भुइँमा न भाँडामा हुँदैगएको थियो । उसलाई भेट्ने कसैले पनि शिष्टाचारवश उसका कुराको प्रतिवाद गर्दैनथ्यो । त्यसैले ऊ विना संकोच हरेक कुराको व्याख्या गर्न र निष्कर्ष दिन थालेको थियो । सिङ न प्च्छुरका लम्बेतान व्याख्यान सुनेर विज्ञहरू भित्रभित्रै हाँस्थे तर केही बोल्दैनथे । उसलाई कुनै कुरा ठीकसँग थाहा थिएन र आफूलाई थाहा छैन भन्ने कुरा पनि थाहा थिएन ।
भाट–चारणहरूले बिहानै–बेलुकै ‘तपाईं जत्तिको सर्वज्ञानी यो विश्व–ब्रहृमाण्डमै अर्को कोही छैन’ भनेर स्तुतिगान गर्न थालेपछि उसको अहंकार चुलिएर आकाश पुगेको थियो । उसलाई लाग्न थालेको थियो, ‘ज्ञानको मूलस्रोत मै हुँ । मलाई जे लाग्छ त्यही सत्य हो । म जे भन्छु त्यो स्वतः सत्य साबित हुनुपर्छ । साबित नभई सुखै छैन ।’
हरिदेवका पिता राजा हरिवरणले राज्य संचालनका लागि एउटा निर्देशिका तयार पारेका थिए । त्यसमा कस्तो वेला कसले कुन बाटो हिंड्ने र कुन बाटो नहिंड्ने भनेर निर्देशन दिइएको थियो । निषेध गरिएको बाटो आत्मघाती हुन्छ भनेर सचेत गराइएको थियो ।
प्रधानमन्त्री हरिप्रसादले त्यही बाटो हिंड्ने घोषणा गर्‍यो र राजा हरिदेवको हात समातेर बाजागाजा बजाउँदै अघि बढ्यो । केही वेरमै उनीहरू यस्तो भीरमा पुगे, जहाँबाट फर्कने बाटो थिएन र अघि बढ्दा हाडखोर पनि नभेटिने गरी तल खसिन्थ्यो ।
उनीहरू डरले चिच्याउन थालेपछि, अर्को डाँडामा बसेर तमाशा हेरिरहेकी हरिदेवकी पूर्वरानीले हरिप्रसादको सल्लाहकारलाई सोधिन्, ‘प्रधानमन्त्रीले किन त्यस्तो निर्णय गरेको ? निर्देशिकाको किताब पढ्न दिएनौ ? त्यसमा स्पष्टै लेखेको छ नि, त्यो बाटो नहिंड्नू भनेर ।’
‘उहाँले पढ्ने अर्कै थोक हो,’ उसले भन्यो, ‘यस्ता किताब त पढ्न सके
पो पढ्नु !’
‘किन नि ?’
‘एकपल्ट पढ्न दिएको, आवरण पृष्ठ पल्टाउनासाथ टाउको दुख्न थाल्यो र माइग्रेनले निस्लोट भएर ढलिहाल्नुभो । पूरै तीन दिन हस्पिटल भर्ना गर्नुपर्‍यो । ...केटाकेटीदेखिकै रोग अरे !’

 

Page 9
अर्थ वाणिज्य

धुमधाम शिलान्यास, लोसे काम

प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मले भव्य रुपमा शिलान्यास गरेका कुनै पनि आयोजना समयमै सकिएका छैनन्, केहीको प्रगति त झन् शून्य छ
- विमल खतिवडा

(काठमाडौं) - ठूला आयोजनाको शिलान्यास गर्न प्रायः बहालवाला प्रधानमन्त्री आफैं जान तयार हुन्छन् । प्रधानमन्त्री आफैं शिलान्यास गर्न आएपछि कार्यक्रम भव्य बनाइन्छ । यस्तो प्रवृत्ति विगतदेखि वर्तमानसम्मका प्रधानमन्त्रीमा प्रायः देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि शिलान्यास र उद्घाटनमोह राम्रै छ । प्रधानमन्त्री आफैंले भव्य रूपमा शिलान्यास गरेका आयोजनाको प्रगति भने अति न्यून छ । कतै शिलान्यास भएर काम अघि बढ्न सकेको छैन, कतै निर्माण सम्पन्न भएर पनि आयोजना सञ्चालनमा आउन सकेका छैनन् । केही आयोजनाको शिलान्यास मात्र होइन, उद्घाटन पनि सम्बद्ध विभागीय मन्त्रीले पटकपटक गर्दासमेत सञ्चालनमा आउन सकेका छैनन् । करोडौं रुपैयाँ लगानी भएका ठूला संरचना धेरैजसो बेवारिस छन् । तर प्रधानमन्त्री ओली विकास निर्माणसँग सम्बद्ध आयोजना शिलान्यास र उद्घाटन गर्न जहाँ पुग्छन्, त्यहाँ प्रायः रेल, पानीजहाज र सुरुङ युगको सुरुवात भयो भन्न छाड्दैनन् । उनै प्रधानमन्त्री ओली हुन्, जसले २०७५ फागुन २ मा भव्य उद्घाटन गरेको पानीजहाज कार्यालय अहिले गुमनाम छ ।
पानीजहाज सञ्चालनसम्बन्धी कानुन अहिले बन्न सकेको छैन । कार्यालयले आवश्यक कर्मचारीसमेत पाउन सकेको छैन । जसले गर्दा प्रधानमन्त्री ओलीले भन्दै आएको पानीजहाज नेपालमा कहिले चल्छ ? यसको उत्तर कार्यालयलसँग नै छैन । ठूला नदीमा चलिरहेका मोटरबोट नियमन गर्न कानुन नहुँदा जथाभावी रूपमा चलाइएको छ । कुन नदीमा कति मोटरबोट चल्छन् भन्ने तथ्यांक कार्यालयसँग छैन । पानीजहाज सञ्चालनसम्बन्धी ऐन संसद्मा पेस भए पनि पास नभएको कार्यालयका सूचना अधिकारी राजन प्रधान बताउँछन् ।
अहिले संसद् चलेको छैन । जसले गर्दा तत्काल कानुन पास हुने अवस्था छैन । ‘हामीले कानुन आउन ढिलाइ भएपछि सञ्चालनसम्बन्धी कार्यविधि बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गर्‍यौं,’ उनले भने, ‘तर अहिलेसम्म स्वीकृत भएको छैन ।’ कार्यालयले पानीजहाजसम्बन्धी नै काम गर्न चाहिने प्राविधिक कर्मचारी अन्य विभागबाट सरसापट गरे चलाउँदै आएको छ ।
यति मात्र होइन, प्रधानमन्त्री ओलीले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास २०७६ कात्तिकमा गरेका थिए । त्यति बेला मुलुकमा सुरुङयुगको सुरुवात भएको उद्घोष गरे । तर शिलान्यास भएको १४ महिनापछि मात्र सुरुङ निर्माणको काम थालियो । ४२ महिनामा सक्नुपर्ने आयोजनामा बल्ल सुरुङ खन्ने काम हुँदै छ । जग्गाको मुआब्जा र आयोजनामा पर्ने घरटहरा समयमै भत्काउन नसक्दा लामो समयसम्म काम अघि बढ्न सकेन । तयारीबिना हतारमा ठेक्का गरेर शिलान्यास गर्दा कामले गति लिन सकेन । शिलान्यास भएको डेढ वर्ष बित्न लाग्दा आयोजनाको भौतिक प्रगति कति छ ? अहिलेसम्म देखिएको छैन ।
प्रधानमन्त्री ओलीले नै मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा निर्मित एकीकृत तरकारी तथा फलफूल थोक बजारको तामझामसाथ उद्घाटन गरेको दुई वर्ष बित्न लाग्यो । तर अझै सञ्चालनमा आउन सकेको छैन । प्रदेश १ सरकार मातहत सञ्चालन हुने थोक बजार विश्व बैंकको १६ करोड रुपैयाँ आर्थिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बनाएको हो । निर्माण सकिएको सात महिनापछि २०७५ चैत ३ गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पटकपटक सञ्चालन प्रयास गरे पनि व्यवसायीहरू थोक बजारमा जान नचाहेकाले त्यो सम्भव भएन । प्रदेश १ का ३७ वटा सहकारीले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ दर्ता गर्न लगाएर सार्वजनिक सूचना निकाल्दै सञ्चालनका लागि गत माघ ८ मा सम्झौता गरेका छन् । वार्षिक १९ लाख भाडा तिर्ने गरी मन्त्रालयसँग पाँच वर्षका लागि सम्झौता गरेर लिइएको सहकारी संघका अध्यक्ष देवेन्द्र पौडेलले बताए । ‘सम्झौता गरे पनि थोक बजारमा व्यवसायी आउन नचाहेकाले सञ्चालनमा समस्या भएको छ,’ उनले भने, ‘त्यसैले चैतसम्मका लागि निःशुल्क साप्ताहिक हटिया लगाउन सुरु गरेका छौं ।’ प्रधानमन्त्री ओलीले नै २०७५ चैतमा भव्य शिलान्यास गरेको नारायणगढ–बुटवल सडक विस्तारको अहिलेसम्मको भौतिक प्रगति ४ प्रतिशत मात्र छ । प्रधानमन्त्री ओली र तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यसको शिलान्यास गरेका थिए । प्रधानमन्त्री ओलीले शिलान्यासका क्रममा २०८० पछि नेपालमा सुरुङयुग आउने उल्लेख गरेका थिए ।
प्रधानमन्त्रीकै गृहजिल्लामा निर्माण थालिको भ्यु टावरको शिलान्यास भएको चार वर्ष हुँदा पनि प्रगति २५ प्रतिशत मात्र छ । १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा चिनियाँ कम्पनी जेडसीजीआईईसी र ललितपुरको आशिष ओम साइरामले ठेक्का लिएका हुन् । भ्यु टावर एक सय मिटर आग्लो हुनेछ । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत निर्माण भइरहेको भ्यु टावर निर्माण २०७९ पुससम्म सक्नुपर्नेछ । तर कामको प्रगति सुस्त छ । १८ तलासम्म बन्ने यो भ्यु टावर दृश्यावलोकनभन्दा पनि व्यापारिक प्रयोजनमा प्रयोग हुने कार्यालयका फिल्ड इन्चार्ज भूपेन्द्रकुमार यादवले जानकारी दिए । शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओली मात्र अघि छैनन् । यसअघिका प्रधानमन्त्री र मन्त्री पनि यो कार्यबाट अछुतो छैनन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको काठमाडौं–तराई–मधेस द्रुतमार्गको प्रगति अहिलेसम्म ११ दशमलव ११ प्रतिशत मात्र छ । दाहालले २०७४ जेठ १४ मा बाराको निजगढ पुगेर यसको भव्य शिलान्यास गरेका थिए । आर्थिक वर्ष २०७४/७५ बाट सुरु यो आयोजना २०८०/८१ सम्पन्न हुनुपर्ने छ । तर आयोजनामा पर्ने सुरुङ र पुल निर्माणको ठेक्का नै हुन सकेको छैन ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि शिलान्यास गर्नेमा अघि नै आउँछन् । उनले शिलान्यास गरेको मेलम्ची खानेपानी अहिलेसम्म काठमाडौंवासीले उपभोग गर्न पाएका छैनन् । सुन्दरीजलबाट २०६६ साउन १९ मा उनले यसको शिलान्यास गरेका थिए । समयसमयमा यो आयोजना विवादमा समेत पर्दै आएको छ । प्रधामन्त्री हुँदा नेता नेपालले हेटौंडामा शिलान्यास गरेको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) अझै सम्पन्न हुन सकेको छैन । नेपाली खेलकुदको ड्रिम प्रोजेक्टका रूपमा हेटौंडा–६ स्थित गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानको नेता नेपालले २०६६ जेठ २८ मा शिलान्यास गरेका थिए । पाँच वर्षभित्र सक्ने गरी शिलान्यास भए पनि अहिलेसम्म प्रगति देखिएको छैन । संरचना बनेका छैनन् । संघीय सरकारबाट पूर्ण रूपमा बेवास्ता गरिएपछि अहिले वाग्मती प्रदेश सरकारले संरचना निर्माणको काम थालेको छ ।
पूर्वभौतिकमन्त्री विमलेन्द्र निधीले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–काँकडभिट्टा खण्डको शिलान्यास महोत्तरीमा तामझामसाथ गरे । अहिले निर्माणमा सोचेअनुरूपको प्रगति छैन । निधीले २०७२ मा यसको शिलान्यास गरेका थिए । बिनातयारी शिलान्यास गर्दा रेलमार्गका विभिन्न खण्डमा मुआब्जाको समस्या देखिएको छ ।
कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल दशकअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरे । कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा दुई पटक शिलान्यास भएको उक्त पुल अझै बनेको छैन । खुलालुमा पुल बने कालीकोटका पाँच वटा स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बतसम्मको यात्रा सहज हुनेछ । कालीकोटका पाँच वटा स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बत जोड्ने सडकका लागि कर्णाली नदीमा पक्की पुल निर्माण गर्न २०६९ मा कन्काई जेभीले ठेक्का लिएको थियो ।
दुई वर्षभित्र सम्पन्न गर्ने गरी कम्पनीले सम्झौता गरिएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ  । कार्यालयका अनुसार ठेक्का म्याद सकिएको पाँच वर्षमा पनि आधा काम भएको छैन । १३ करोड रुपैयाँ बजेट रहेको पुलको लागत अहिले बढेर १७ करोड रुपैयाँ पुगेको डिभिजनको भनाइ छ ।
यता भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) को ०७१ मंसिर २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले पहिलो पटक उद्घाटन गरे । २०७३ फागुन ५ मा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सेज भवनको दोस्रो पटक उद्घाटन गरे । भैरहवामा सेज स्थापनाको तयारी गरिएको दुई दशक बितिसकेको छ । तर पूरा हुने छाँट छैन । मुलुकमै पहिलो पटक बनेको विशेष आर्थिक क्षेत्रमा ८५ करोड रुपैयाँ लगानी भए पनि पूर्ण रूपमा सञ्चालनमा नआउँदै जीर्ण बनेको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा आर्थिक वर्ष २०५६/५७ देखि काम अघि बढेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले गत माघ १४ मा बुटवलको सिद्धार्थ राजमार्गअन्तर्गत चौराहादेखि चिडिया खोलासम्मको सडक विस्तारको शिलान्यास गरे । आर्थिक वर्ष २०७३/७४ मा राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक विस्तार आयोजना परेको थियो । दुई वर्षमा सक्ने गरी सुरु गरिएको सडकको काम स्थानीयको अवरोधका कारण पटकपटक म्याद थप्दै अगाडि बढिरहेको छ । तर अर्थमन्त्री पौडेलले भने भर्खर योजना सुरु भएको आभास दिने गरी यसको शिलान्यास गरे । ४७ करोड २७ लाख लगानीमा विस्तार हुन थालेको सडक २०७९ वैशाखमा सम्पन्न गर्ने गरी म्याद थपिएको छ ।
शिलान्यासका काममा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री पनि अघि छन् । शिलान्यास गर्ने तर काम ढिला हुने प्रवृत्ति भने उस्तै छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिबाङस्थित धाङसी खोलामा निर्माणाधीन मोटरेबल पुलमा २५ प्रतिशत काम सकिएपछि शिलान्यास गरे । प्रदेश सरकारको ५ करोड ६१ लाख ४९ हजार रुपैयाँ लगानीमा असोजदेखि निर्माण थालिएको पुल अकास्मात् मुख्यमन्त्री आएर शिलान्यास गर्दा स्थानीय चकित परेका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सांसदको हैसियतमा झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा शिलान्यास गरेको झोलुंगे पुल पाँच वर्षदेखि अलपत्र छ । मेची नदी वारपार गर्न स्थानीयको सहजताका लागि निर्माण हुने भनिएको पुलको ठेक्का नीलगिरि सेवा प्रालि बानेश्वरले डेढ करोड रुपैयाँमा ठेक्का लिएर काम अलपत्र पारेको हो । शिलान्यास गर्न हतारिए पनि प्रधानमन्त्री, मन्त्री, सांसद त्यसको निर्माण भएको छ/छैन, कति भयो, के भयो भनेर जिम्मेवार नबन्दा आयोजना वर्षौंदेखि अलपत्र बन्ने गरेका छन् ।
कुनै बेला निकै चर्चा पाएको काठमाडौं–रक्सौल र केरुङ–काठमाडौं रेलमार्गको चर्चा अहिले सेलाएको छ । २०७५ भदौमा काठमाडौंमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका बेला प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । भारत सरकारको स्वामित्व रहेको कोंकण रेलवेले नेपाल सरकारसँगको समन्वयमा आठ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको एक वर्षभन्दा बढी भयो । विस्तृत सम्भाव्यता अध्ययन पनि भारतले गरिदिने छ । तर अहिलेसम्म अध्ययनको काम अघि बढ्न सकेको छैन ।
केरुङ–काठमाडौं प्रस्तावित रेलमार्गको काम पनि अघि बढ्न सकेको छैन । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । तर अहिलेसम्म काम सुरु भएको छैन । पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । यो चीन जोड्ने रेलमार्ग हो । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहेको उक्त रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ । जसलाई छेडेर रेलमार्ग बनाउनुपर्नेछ ।
रक्सौल–काठमाडौं रेलमार्गको भारत सरकारसँग विस्तृत सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराई बताउँछन् ।

ॅराजनीतिक नौटंकी’
पूर्वसचिव किशोर थापा भने शिलान्यासलाई राजनीतिक नौटंकीको संज्ञा दिन्छन् । शिलान्यास भनेको निर्माण सुरु हुने अवस्था हो । ‘निर्माण सुरु गर्नुअघि सुरु गरिने परम्परागत एउटा कार्य शिलान्यास हो,’ उनले भने, ‘विभिन्न देशमा विभिन्न तरिकाले निर्माण सुरु गरिन्छ ।’ शिलान्यासअघि ठेक्कापट्टा आदि काम सकिसक्नुपर्छ । निर्माण कम्पनी काममा खटिसक्नुपर्छ । त्यसअघि डिजाइन आदि पूर्वतयारीका सबै काम सक्नुपर्छ । त्यसपछि मात्र शिलान्यास अर्थपूर्ण हुने उनको भनाइ छ । ‘पूर्वतयारीबिना गरिएको शिलान्यास फगत राजनीतिक नौटंकी मात्र हो,’ उनले भने, ‘यसबाट जनतालाई कुनै फाइदा छैन ।’ एउटै आयोजना तीन पटकसम्म शिलान्यास हुने गरेको उनको भनाइ छ । यो केवल विकृति मात्र रहेको उनले बताए ।
नेपालमा पूर्वाधार विकास तथा निर्माणको स्थापित प्रणाली नभएको पूर्वाधारविज्ञ सूर्यराज आचार्यको भनाइ छ । ‘नीतिगत तहमा निर्माण उद्योगलाई कसरी प्रश्रय दिने, निर्माण व्यवसायीको क्षमता कसरी बढाउने, गुणस्तरीय काम गर्न जनशक्तिको व्यवस्था कसरी गर्ने भन्ने सरकारको नीतिले व्यवस्था गर्ने हो,’ उनले भने, ‘तर सरकारको निर्माण उद्योग प्रवर्द्धन नीति के भन्ने नै तोकिएको छैन ।’ निर्माण सामग्री अभावले पनि आयोजना निर्माणमा समस्या आउने गरेको उनले बताए ।

अर्थ वाणिज्य

घोषणाको ५ वर्षपछि जग खनियो

२०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयूरधापको तीन सय बिघालाई औद्योगिक क्षेत्र घोषणा गरेको थियो
- सुवास बिडारी

(मकवानपुर) - सरकारले घोषणा गरेको पाँच वर्षमा हेटौंडा–१४ स्थित मयूरधापमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार औद्योगिक क्षेत्रको शिलान्यास गर्दै देशभरका पाँच स्थानमा चालु आर्थिक वर्षभित्रबाटै भौतिक पूर्वाधारको काम अगाडि बढाइएको बताए । २०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयूरधापको तीन सय बिघा क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।
काठमाडौं उपत्यकाको बालाजु, ललितपुर, पाटन र भक्तपुर आद्योगिक क्षेत्रको विकल्पका रूपमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । ‘अब उपत्यकाभित्र थप उद्योग सञ्चालन गर्न दिन्नौं,’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने । उपत्यकाभित्रका तीन वटै औद्योगिक क्षेत्र भरिभराउ भइसकेको र नयाँ उद्योगका लागि जग्गा नभएको उनले बताए । सडक सञ्जालका कारण छोटो दूरीमा रहेको मयूरधापलाई उपत्यकाको औद्योगिक क्षेत्रको विकल्पका रूपमा विकास गर्न लागिएको उनले बताए ।
शिलान्यास गरिएको ६ महिनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र जारी गरिने र दुई वर्षभित्र आवश्यक पूर्वाधार निर्माण गरिएपछि काठमाडौंभित्र उद्योग खोल्न चाहनेलाई प्राथमिकतामा राखेर मयूरधापको जग्गा उपलब्ध गराइने बताइएको छ । सरकारले तीन सय बिघालाई औद्योगिक क्षेत्र घोषणा गरे पनि त्यसभित्र हाल १ सय ९९ दशमलव १२ बिघा अर्थात् १ सय ३४ दशमलव ८४ हेक्टरमा मात्र संरचना निर्माण गर्ने गरी आयोजना अघि बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धरले बताए । पाँच वर्षभित्र सम्पूर्ण भौतिक संरचना निर्माण गरिने र उद्योग स्थापनासँगै सञ्चालन भइसक्ने उनको दाबी छ ।
औद्योगिक क्षेत्र स्थापनका लागि आवश्यक डीपीआर तयार पारिसकेपछि मात्र शिलान्यासको तयारी गरिएको मानन्धरले बताए । मयूरधापमा ७ देखि १४ रोपनीको ६२ वटा प्लट निर्माण गरिनेछ । लिमिटेडले निर्माण गर्ने संरचनाका लागि ७ अर्ब २ करोड लागत अनुमान गरिएको छ । औद्योगिक क्षेत्रभित्र सडक, विद्युत्, पानी, ढल, उद्योगबाट निकास हुने दूषित पानी प्रशोधन केन्द्र, अत्याधुनिक प्रविधिसहितको स्मार्ट प्रशासनिक भवन निर्माण गरिने मानन्धरले जानकारी दिए ।
औद्योगिक क्षेत्र निर्माणको पहिलो चरणमा २०७८ वैशाखदेखि जग्गा विकास र तटबन्धको काम सुरु गर्ने तयारी रहेको उनको भनाइ छ । दोस्रो चरणमा सडक निर्माणका लागि ट्र्याक खोल्ने, तेस्रो चरणमा २०७९ बाट उद्योग स्थापना सुरु गरिनेछ । उद्योग सञ्चालनमा आएपछि १० हजारभन्दा बढीले रोजगारी पाउने लिमिटेडको अनुमान छ । औद्योगिक क्षेत्रभित्र पर्ने १० बिघा वन क्षेत्रलाई ग्रिन पार्कका रूपमा विकास गरिने बताइएको छ ।
२०१६ मा बालाजु, २०१९ मा पाटन र २०३६ मा भक्तपुर औद्योगिक क्षेत्र स्थापना गरिएको लिमिटेडका अध्यक्ष बस्नेतले जानकारी दिए । ५० बिघा क्षेत्रफल रहेको बालाजुमा १ सय ३७, २२ बिघा क्षेत्रफल रहेको पाटनमा १ सय १५ र ५ बिघा रहेको भक्तपुरमा ३६ वटा उद्योग छन् । ‘यी तीन वटै औद्योगिक क्षेत्रको जग्गा अभावसँगै क्षेत्रफलअनुसार उद्योग स्थापना भइसकेका छन्, त्यसकारण काठमाडौं उपत्यकाभित्र नयाँ खोल्न चाहनेका लागि जग्गा उपलब्ध गराउन नसकिने भएको हो,’ बस्नेतले भने ।

अर्थ वाणिज्य

कर्णाली करिडोरको १२२ किमि ट्र्याक खुल्यो

- राजबहादुर शाही

(मुगु) - कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको बालुकुनासम्म १ सय २२ किलोमिटर सडकको ट्र्याक खुलेको छ । २०७१ चैतदेखि नेपाली सेनाले निर्माण थालेको खुलालुदेखि हुम्लाको सरिसल्लासम्मको १ सय २३ किलोमिटरमध्ये अब एक किलोमिटर मात्र ट्र्याक खोल्न बाँकी छ ।
निर्माण जिम्मा लिएको सात वर्षमै १ सय २२ किमि सडक निर्माणको काम पूरा भएको सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी मिलन कार्कीले बताए । ‘बाँकी एक किलोमिटर सडकको काम आगामी वैशाखसम्म सक्ने योजना छ,’ उनले भने, ‘लक्ष्यअनुसार काम भए चालु आर्थिक वर्षभित्रै सरकारलाई सडक हस्तान्तरण गर्छौं ।’ ट्र्याक निर्माण पूरा भएपछि केही ठाउँमा सडक चौडा बनाउने, टेवा पर्खाल लगाउनेलगायत काम हुनेछन् । अहिले कालीकोटको खुलालुदेखि हुम्ला बालुकुनासम्मको १ सय २१ किलोमिटर सडकमा जिप र साना सवारी सञ्चालन भइरहेको उनको भनाइ छ । यातायात सञ्चालन भएपछि कालीकोट, हुम्ला, मुगु र बाजुराका बासिन्दाको आवतजावत सजिलो भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी पनि सहज बनेको छ । करिडोरको ट्र्याक खुलेपछि नेपालगन्ज, सुर्खेतलगायत ठाउँ आउजाउ गर्न धेरै सुविधा पुगेको सोरु गाउँपालिका–४ का अंगबहादुर शाहीले बताए । ‘सडक निर्माणले रोजगारी पनि पाएका छौं,’ उनले भने, ‘कृषिजन्य सामग्रीले सजिलै भाउ र बजार पाएको छ ।’
हुम्लाको सरिसल्लादेखि सिमकोटसम्मको ५१ किलोमिटरमध्ये ३५ किमि सडक निर्माणको काम सडक डिभिजन र स्थानीय तहमार्फत भइरहेको छ । अब करिडोरको १६ किलोमिटर मात्र ट्र्याक खुल्न बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । बाँकी १६ किलोमिटर सडक निर्माणको काम पनि सेनाले गरे करिडोर छिट्टै सञ्चालनमा आउने सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताए । ‘सेनालाई जिम्मा दिए काम छिटो हुन्थ्यो,’ उनले भने, ‘हामीले पनि निर्माणलाई तीव्रता दिइरहेका छौं ।’
अहिले उक्त सडकखण्डमा करिब २ सय ५० जना दक्ष कामदार खटिएका छन् । उक्त खण्डमा पनि विस्फोटनको जिम्मा सेनालाई नै दिइएको उनले जानकारी दिए । कार्यदलका अनुसार अहिलेसम्म करिडोर निर्माणको काममा खटिएका ६ जनाले ज्यान गुमाइसकेका छन् । कालिकोटमा चार र हुम्ला खण्डमा दुई जनाको सडक निर्माणका क्रममा ज्यान गएको थियो । मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिइएको सेनाले जनाएको छ ।
करिडोर निर्माणमा २ अर्ब ८४ करोडको बजेट प्रस्ताव गरिएकामा अहिलेसम्म १ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपैयाँबाट सडक निर्माणको काम चलिरहेको कार्कीले बताए ।

पाँच ठाउँमा बेलिब्रिज
करिडोरअन्तर्गत विभिन्न पाँच ठाउँमा सेनाले पाँच वटा बेलिब्रिजसमेत निर्माण गरेको छ । एउटा बेलिब्रिजको काम जारी रहेको सडक निर्माण कार्यदलले जनाएको छ । कालीकोट खण्डमा दुई, बाजुरा खण्डमा एक र हुम्लामा दुई वटा पुल निर्माणको काम सकिएको सेनानी कार्कीले जानकारी दिए । कालीकोटको खुलालुमा पुल निर्माणको काम जारी छ । हुम्लाको सरिल्लास्थित कर्णालीमा भने सडक डिभिजन कार्यालयले बेलिब्रिज निर्माण गरिरहेको उनले बताए ।

Page 10
अर्थ वाणिज्य

सडक सुध्रिएपछि दुर्घटनामा कमी

एक वर्षमै लगभग नौ सय वटासम्म दुर्घटना हुने नारायणगढ–मुग्लिङ सडकमा स्तरवृद्धिपछिको अढाइ वर्षमा ३ सय ४५ वटा मात्रै दुर्घटना
- रमेशकुमार पौडेल

(चितवन) - नारायणगढ–मुग्लिङ सडकको स्तरवृद्धि गरिएसँगै दुर्घटना हुने दर घटेको छ । अत्यधिक दुर्घटना हुने भएका कारण कुनै बेला यो सडकलाई ‘मृत्युमार्ग’ पनि भनिन्थ्यो । कुनै समय एकै वर्षमा लगभग नौ सय वटासम्म दुर्घटना हुने यो सडकमा स्तरवृद्धिपछिको अढाई वर्षमा ३ सय ४५ वटा मात्रै दुर्घटना भएको भरतपुर रामनगरस्थित वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी शान्तिराज कोइरालाले जानकारी दिए । ‘सडक फराकिलो र सुरक्षा प्रबन्धको व्यवस्थाले गर्दा अहिले नारायणगढ–मुग्लिङ सडकमा दुर्घटना ह्वात्तै घटेको छ,’ उनले भने, ‘दुर्घटनामा मृतक र घाइते हुनेको संख्यामा समेत उल्लेख्य कमी आएको छ ।’
तर समग्र चितवनमा भने दुर्घटनाको दर बढेको छ । कोरोना महामारीका कारण गरिएको लकडाउनमा पनि सवारी दुर्घटनामा कमी नआएको उनको भनाइ छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले नारायणगढ–मुग्लिङ सडक विस्तार हुनुअघिको तीन वर्ष र विस्तारपछिको अढाई वर्षमा भएका दुर्घटनाको संख्या विश्लेषण गरेको छ । एसपी कोइरालाका अनुसार विस्तारअघि २०७२/७३ देखि २०७४/७५ सम्म २ हजार २ सय ६६ वटा साना–ठूला दुर्घटना भएको तथ्यांक छ । यी दुर्घटनामा ४ सय ४२ जनाको मृत्यु र ९ सय ५६ जना घाइते भएका थिए । सडक विस्तारपछि २०७५/७६ देखि चालु आवको पहिलो ६ महिनासम्म ३ सय ४५ वटा दुर्घटना हुँदा ५६ जनाको मृत्यु र १ सय ३१ जना घाइते भएका छन् । २०७३/७४ मा ८ सय ९८ दुर्घटना भएका थिए । जसमा १ सय ७० जनाको मृत्यु र ३ सय २ जना घाइते भएका थिए । तर गत साउनदेखि पुससम्ममा दुर्घटना संख्या जम्मा ४४ छ । मृत्यु हुने ४ जना र घाइते हुनेको संख्या १९ छ । ‘जबकि यो अवधिमा अन्य सडकहरूमा दुर्घटना संख्या अघिल्ला वर्षहरूको भन्दा बढेको छ,’ कोइरालाले भने । दुर्घटना बढी हुनुमा सडकको दुरवस्था पनि प्रमुख कारक मानिन्छ । सडकको स्तरवृद्धिसँगै नारायणगढ–मुग्लिङ सडकमा दुर्घटना घटेको उनले दाबी गरे ।
‘सडक फराकिलो बनाइएको छ । सुरक्षा मापदण्ड यथेष्ट छन् । त्यसैले पछिल्ला वर्षमा दुर्घटना हुन कम भएको छ । यात्रु र मजदुरसमेत केही ढुक्क छन्,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन चितवनका सचिव दीपक सिलवालले भने । विश्व बैंकको ऋण सहयोगमा नारायणगढ–मुग्लिङ सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको कायम गरिएको छ । २०७१ को अन्तिमदेखि विस्तारको काम सुरु भएकामा सम्पन्न हुन तीन वर्षभन्दा बढी समय लागेको थियो । विस्तारअघि साढे पाँच मिटर चौडा उक्त सडक हाल ९ देखि ११ मिटर फराकिलो छ । ३६ किलोमिटर लम्बाइको सडक विस्तारमा झन्डै ३ अर्ब रुपैयाँ खर्च भएको छ ।
पछिल्लो समय सडक विस्तार र निर्माणमा यथेष्ट सुरक्षा प्रबन्ध हुन थालेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन् । ‘विश्व बैंकको परियोजना भएका कारण सडक सुरक्षालाई लिएर निश्चित मापदण्ड बनाइएको हुन्छ । यसका लागि डिजाइनमै सुरक्षाको प्रत्याभूति दिएर काम सुरु गर्नुपर्ने हुन्छ,’ उनले भने । नदी किनार र भीरपाखा हुँदै जाने सडकमा पर्याप्त सुरक्षा मापदण्डहरू राखेका कारण दुर्घटना कम हुँदै गएको उनले बताए । ‘नदी किनारमा पर्याप्त बार र पर्खाल छन् । मोडहरू मापदण्डअनुरूपको बनाएका छौं । ट्राफिक संकेत यथेष्ट छन् ।
रोड मार्किङ र क्याट आई (सडक सीमामा राखिएका रातमा लाइट पर्दा टल्कने सानो बट्टा) छन्,’ खनालले भने, ‘सडक फराकिलो हुँदा विपरीत दिशाका गाडी ठोक्किने सम्भावना नै कम हुन्छ ।’
सडक सुरक्षा राम्रो भएका कारण गाडीहरूको संख्या बढे पनि दुर्घटना कम भएको उनले दोहोर्‍याए । यो सडकलाई बेला–बेलामा पहिरोले दुःख दिन भने छाडेको छैन । पहिरो नियन्त्रणका काम पनि जारी नै छ । पूर्वाधारका हिसाबले आफूहरूले राम्रो काम गरेको र अब ट्राफिक व्यवस्थापनमा प्रहरी चनाखो भएर काम गरे दुर्घटनाहरू अझै कम गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।
‘सडक राम्रो र नराम्रो भए के फरक पर्दछ भन्ने अनुभव नारायणगढ–मुग्लिङ सडकबाट गर्न पाएका छौं,’ यातायात व्यवसायी शंकर गिरीले भने, ‘यो सडक सुध्रिएपछि दुर्घटना कम भयो । पहिरोको जोखिम भने कायमै छ । पुलहरू साँघुरा छन् । संकेत बोर्डहरू पर्याप्त छैनन् । यी सबै कुरा भए दुर्घटनाको संख्या अझै कम हुन्थ्यो ।’

अर्थ वाणिज्य

साढे ३७ हजारलाई आईपीओ

- कान्तिपुर संवाददाता

(काठमाडौं) - महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक निष्कासन (आईपीओ) साढे ३७ हजार जनाले प्राप्त गरेका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार सेयर बाँडफाँट गरेको हो । परेका सबै आवेदकलाई सेयर नपुग्ने भएपछि गोला प्रथाबाट सेयर बाँडफाँट गरिएको थियो । जसमा ३७ हजार ५ सय लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारे । कम्पनीको सेयरमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । यसमध्ये ३ हजार ३ सय ५३ वटा आवेदन रद्द भएको एसबीआई क्यापिटलले जनाएको छ ।
योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोला प्रथामा समावेश गराई सेयर बाँडफाँट गरिएको हो । आवेदन दिएकामध्ये १५ लाख २ हजार ५ सय ३५ जनाले सेयर पाएका छैनन् । सो कम्पनीको आईपीओमा आवेदन हालसम्मकै धेरै आवेदन परेको थियो । लघुवित्तले गत शुक्रबारदेखि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको चार लाख कित्ता आईपीओका लागि आवेदन आह्वान गरेको थियो ।
सो कम्पनीको सेयर बाँडफाँटको नतिजा महिला लघुवित्त वित्तीय संस्थाको वेबसाइट, नेपाल एसबीआई क्यापिटल र सीडीएस एन्ड क्लियरिङको मेरो सेयरबाट मात्र हेर्न पाइन्छ । यसअघि विभिन्न सञ्चार माध्यमबाट पनि आईपीओको नतिजा हेर्न पाउने व्यवस्था थियो । लगानीकर्ताबाट गोपनीयताका विषयमा प्रश्न उठेसँगै आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाउने व्यवस्था सीडीएस एन्ड क्लियरिङले गरेको हो ।
सीडीएस एन्ड क्लियरिङले बिहीबार मर्चेन्ट बैकरहरूलाई पत्रमार्फत आईपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

अर्थ वाणिज्य

बालुवाडाँडामा प्याराग्लाइडिङ

- कान्तिपुर संवाददाता

परासी (कास)– पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ बालुवाडाँडामा प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ । धेरैजसो पहाडबाट गरिँदै आएको प्याराग्लाइडिङ तराईमा पनि सफल परीक्षण गरिएको हो । यससँगै अब नवलपरासीमा नियमित उडान गर्ने तयारी छ ।
बालुवाडाँडा पर्यटन युवा सञ्जालको अगुवाइमा हालै समुद्री सतहदेखि ९ सय मिटर उचाइको डाँडाबाट उडान गरिएको हो । ‘गाउँका युवा मिलेर पोखरामा प्याराग्लाइडिङ गर्न जाने निधो भयो । एक जना साथीले समथर भूभागमा पनि सुरु गर्न सकिन्छ भन्ने प्रस्ताव राखे,’ सञ्जालका अध्यक्ष उमेश रानाले भने, ‘सुरुवाती चरणमा विश्वास लागेन । तर यसबारे बुझ्दै जाँदा आफ्नै ठाउँमा यो उडान गर्न सकिने प्राविधिक जानकारी पाएपछि अभियान सुरु गरेका थियौं । आज सफल भयौं ।’ दुई सय मिटर उचाइको पोखरी ताल क्षेत्रमा प्याराग्लाइडिङ ल्यान्ड गरिएको थियो ।
पूर्वी नवलपरासीमा तराई र पहाडको भूगोल भएकाले उडान सफल भएको हो । नागरिक उड्यन मन्त्रालयसँग अनुमति लिएर परीक्षण उडान गरिएको र सफल भएकाले अब यसलाई निरन्तरता दिने सञ्जालका सदस्य विमल रानाले जानकारी दिए । परीक्षण उडानका लागि कावासोती नगरपालिकाले सहयोग र समन्वय गरेको छ ।
स्थानीय युवाको योजनालाई नगरपालिकाले सहयोग गरेको छ,’ कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले भने, ‘होमस्टे, जंगल सफारी र पर्यापर्यटन रहेको नगरमा प्याराग्लाइडिङ थपिनुलाई हामीले नगरपालिकाको मात्र नभएर समग्र जिल्लाको पर्यटनमा कोसेढुंगा सावित भएको छ ।

अर्थ वाणिज्य

एनसेलको 'सहयात्री सिम’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– एनसेल आजियाटाले वैदेशिक रोजगारीमा जाने योजनामा रहेकालाई ‘सहयात्री सिम’ योजना ल्याएको छ । यो प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा, निःशुल्क रोमिङजस्ता विशेषता रहेको एनसेलले जनाएको छ । यो सिम योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ । वैदेशिक रोजगारीमा जाने सोच बनाएकालाई उनीहरूको यात्रामा सम्पूर्ण सहयोग पुर्‍याउनु सहयात्री सिमको उद्देश्य रहेको एनसेलले बताएको छ । 

अर्थ वाणिज्य

इन्भेस्टमेन्ट बैंकको वार्षिकोत्सव

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड स्थापनाको ३५ औं वर्ष पार गरेको छ । देशका सातै प्रदेशमा गरी बैंकले ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १ सय ३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएका जानकारी दिएको छ । ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र, साना तथा मझौला उद्यम र व्यक्तिगत गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पुर्‍याइसकेको बताएको छ ।

अर्थ वाणिज्य

सिद्धार्थका ग्राहकलाई त्रिसारामा छुट

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सिद्धार्थ बैंकका ग्राहकले त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा छुट पाउने भएका छन् । बैंक र त्रिसाराबीचको सम्झौताअनुसार ग्राहकले दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारामा छुट पाउनेछन् । ग्राहकले बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत खाना तथा बेभरेजका लागि भुक्तानी गर्दा यो छुट पाउनेछन् । 

Page 11
समाचार

बालिका करणी आरोपमा किशोर पक्राउ

पढ्न र टिकटक बनाउन भनी बालिका प्रायः किशोरको घरमा जाने गर्थिन् । महिनावारी रोकिएपछि घटना परिवारले थाहा पाएका हुन् ।
- कान्तिपुर संवाददाता

(लमजुङ) - बहिनी नाता पर्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । बेंसीसहर नगरपालिका–३ मा बस्दै आएका १९ वर्षीय किशोर बुधबार राति पक्राउ परेका हुन् । बिहीबार लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको डीएसपी गंगाबहादुर थापाले बताए ।
बालिकाको तनहुँ दमौलीस्थित जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीका अनुसार पछिल्लो समय फागुन १ मा उनीहरूबीच शारीरिक सम्पर्क भएको र त्यसअघि माघमा पटक–पटक सम्पर्क भएको भन्दै उजुरी परेको छ । पढ्न र टिकटक बनाउन भनी बालिका प्रायः किशोरको घरमा जाने गर्थिन् । घरमा कोही नभएको मौकामा किशोरले करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिकाको महिनावारी रोकिएपछि घटनाबारे परिवारले थाहा पाएको उजुरीमा उल्लेख छ ।

बलात्कार प्रयास घटना मिलाउन खोज्ने दुई पक्राउ
मोरङ– बलात्कार प्रयासको घटना गाउँमै मिलाउन खोजेको आरोपमा जहदा गाउँपालिकाका दुई जना पक्राउ परेका छन् । घटना मिलाउन दबाब दिनेमध्येका पर्शुराम सरवरिया र सानदेव सरवरिया पक्राउ परेका हुन् । इलाका प्रहरी रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले पीडित ११ वर्षीया बालिकाका परिवारले घटनाको सातौं दिन बिहीबार जाहेरी दिएका थिए । स्थानीय ४५ वर्षीय राजेन्द्र सरवरियाले फागुन ६ गते दिउँसो ४ बजेतिर बालिकालाई घरबाट मावली घर जाने क्रममा फकाइफुल्याइ मकै बारीमा लगेर बलात्कार प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए । ‘पहिलो दिन सरवरियाले लुगा खोल्न लागेपछि बालिका भाग्न सफल भएकी थिइन्,’ उनले भने, ‘त्यसको दुई दिनपछि दोस्रोपटक पुनः बलात्कार प्रयास गरेपछि मात्रै बालिकाले घटनाबारे परिवारजनलाई जानकारी गराएको पाइयो ।’
सानैमा आमाको मृत्यु र बुबा बेपत्ता भएदेखि मावली हजुरआमाले बालिकाको पालनपोषण गर्दै आएको थापाले बताए । ‘अगुवा भनाउँदाहरूले गाउँमै छलफल गरेर घटना मिलाउने प्रयास गरेको पाइयो,’ उनले भने, ‘पैसा लिएर मिल्नुपर्छ भन्ने प्रस्ताव राखेर पीडित पक्षलाई घटना मिलाउन दबाब दिएको खुलेको छ ।’ ढिलो गरी जाहेरी आउँदा आरोपित सरवरिया फरार भएकाले खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

समाचार

२५ स्वास्थ्यचौकी पुनर्निर्माण हुने

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– २०७२ को भूकम्पमा क्षतिग्रस्त २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का परियोजना निर्देशकले सो सम्बन्धी चारवटा सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् । जस
अनुसार धादिङमा १२ वटा र सिन्धुपाल्चोकमा १३ वटा स्वास्थ्यचौकी पुनर्निर्माण हुनेछन् ।

समाचार

मातृभाषा अभियन्ता माझीको निधन

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– मातृभाषा अभियन्ता धनबहादुर माझीको ७० वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासलगायत रोगबाट पीडित उनको उपचारको क्रममा राजधानीमा शुक्रबार निधन भएको हो ।
रामेछापको मन्थली–७ भटौलीमा जन्मेका उनी माझी भाषा, संस्कृति, अधिकारका निम्ति समर्पित थिए । उनका ‘माझी जातिको संस्कार संस्कृति’, ‘माझी जातिको चिनारी’, ‘माझी–नेपाली शब्दकोश’ पुस्तक प्रकाशित छन् । उनले माझी भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक पनि लेखेका छन् । २०७४ सालको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ बाट उनी सम्मानित भएका थिए । उनी नेपाल माझी संघका उपाध्यक्ष, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका परिषद्
सदस्य, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सदस्य, माझी विकास तथा अनुसन्धान परिषद्का अध्यक्ष थिए ।

समाचार

चन्द समूहका जिल्ला सदस्य पक्राउ

- कान्तिपुर संवाददाता

राजविराज (कास)– सप्तरी प्रहरीले नेत्रविक्रम चन्द समूहका एक जिल्ला सदस्यलाई राजविराजबाट शुक्रबार साँझ पक्राउ गरेको छ । राजविराज–५ मा बस्दै आएका उदयनाथ मण्डललाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो । विभिन्न व्यक्तिलाई फोन गरी चन्दाका लागि धम्क्याउने गरेको सूचनापछि उनीमाथि निगरानी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

Page 12
खेलकुद

पहिलो शतकको दुई दशक

फेब्रुअरी १९, २००१ का दिन मुनिकले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाए । योसँगै उनी नेपालका लागि पहिलो शतक बनाउने खेलाडीमा दरिए ।
- विनोद पाण्डे

(काठमाडौं) - मुनिक श्रेष्ठलाई सम्झिन अलिक पछाडि नै फर्किनुपर्ने हुन्छ । त्यो भनेको रातो बल र सेतो पोसाकले प्रभुत्व जमाएको समयतिर । अहिले सेतो बल र रंगीन पोसाकको समय छ । पिन्क बल परीक्षणकालमै जस्तो छ । त्यस बाबजुद रातो बल र सेतो पोसाकलाई क्रिकेटको आयामका रूपमा लिइन्छ ।
त्यही रातो बल र सेतो पोसाकमा मुनिकले नेपाली क्रिकेटमा नयाँ आयाम थपेको पनि २० वर्ष भइसक्यो । फेब्रुअरी १९, २००१ का दिन मुनिकले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाए । जुन शतक नेपालका लागि पहिलो थियो । उनी पहिलो शतक बनाउने खेलाडीमा दरिए । बंगलादेशको ढाकास्थित जहाँगिनगर युनिभर्सिटी मैदानमा मुनिकले शतकपछि ब्याट उठाएको समयले २० वर्ष नाघेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको ५ वर्षपछि नेपालको पहिलो शतक सम्भव भएको थियो । मुनिकको शतक त्यतिबेला सम्भव भयो, जतिबेला नेपाली खेलाडीलाई अर्धशतक बनाउन नै धौधौ थियो । पवन अग्रवाल, किरण अग्रवाल, दीपेन्द्र चौधरीले खेलेका इनिङ्समा यदाकदा अन्तर्राष्ट्रिय अर्धशतक बनेका थिए । किरण ‘नर्भस नाइटिज’ भएको एक वर्षपछि मुनिकले तीन अंक स्कोरको इतिहास रचेका थिए ।
िि
ि
मुनिक भर्खर १५ वर्षका मात्र थिए । दाइहरू मोनिष र मोनिरको सिको गर्दै उनी क्रिकेटमा आएका थिए । छोटो समयमै प्रभाव देखाएपछि मुनिकले नेपालको उमेर समूह टिमबाट खेल्न थालिसकेका थिए । एसीसी यू–१७ एसिया कप खेल्न बंगलादेश जाँदा उनलाई पढाइबाट ध्यान बाहिर लान गाह्रो भइरहेको थियो । क्रिकेटमा आफू अझ कस्तो खेलाडी भनेर बुझ्न खोज्दै गर्दा मुनिक यू–१७ एसिया कप खेल्न ढाका पुगेका थिए । नेपालको उमेर समूहमा उनको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।
नेपालका पाकिस्तानी प्रशिक्षक अल्ताफ बलुचले मुनिकलाई फ्याट्ट भनिदिए ‘यू मोस्ट स्कोर सेन्चुरी ।’ नेपाल समूह चरणमा सिंगापुरसँग आफ्नो अन्तिम खेल खेल्दै थियो । अघिल्लो दिन प्रतियोगिताको अफिसियल डिनर कार्यक्रम थियो । त्यहीं बलुचले सिंगापुरसँगको खेल केन्द्रित गरेर ‘मुनिकलाई शतक प्रहार गर्नुपर्छ’ भनेका थिए । बलुचको त्यही भनाइपछि मुनिकलाई आफ्नो आत्मविश्वास एकाएक बढेर आएजस्तो भयो ।
मुनिकमाथि बलुचले विश्वास देखाउनुको कारण उनको प्रतिभा त छँदै थियो । अर्को प्रतियोगिताको अघिल्लो तीन खेलमा उनको प्रदर्शन सुधारिँदै आएको थियो । बंगलादेशसँग ८ रन बनाएका मुनिकले पाकिस्तानविरुद्ध नेपालले ठूलो चुनौती तेर्स्याउँदा २५ रन जोडेका थिए । उनी कुवेतसँग ४३ रनमा रनआउट भए । तर खेलका म्यान अफ द म्याच चुनिएका थिए । कुवेतसँगको त्यो रनआउट भएको क्षण २० वर्षपछि सम्झँदा उनी विस्मात मान्छन् । उनलाई अर्धशतक बनाउँछु भन्ने त पूर्ण विश्वास थियो अनि शतकको जोश बलुचले थपिदिएका थिए ।
भोलिको खेलमा अर्धशतक बनाउनुपर्छ, टिम मिटिङमा बनेको रणनीतिअनुसार पहिला ब्याटिङ गरेमा ४५ ओभर पूरै खेलेर २ सय ७० को आसपास रन बटुल्ने, त्यसमा ओपनिङ जोडीले १५ ओभर टिकेर खेल्ने भनेर प्रशिक्षक बलुचको रणनीतिअनुरुप खेल्ने कुरा मनमा खेलाउँदा खेलाउँदै मुनिक निदाइसकेका थिए । भोलिपल्ट बिहान ६ बजे टिमको अलार्म घण्टी आउनुअघि नै उनी उठिसकेका थिए । साढे ६ बजे ब्रेकफास्ट खाएर नेपाली टोली सिंगापुरसँग खेल्न मैदान लागेको थियो । टिम बसेको होटल पूर्वाणीबाट जहाँगिनगर विश्वविद्यालय मैदानको यात्रा ३० किलोमिटर दूरीमा थियो । सवा एक घण्टाको यात्रापछि नेपाली टोली ८.२० मा मैदान पुग्यो । एक घण्टाभित्र नेपाली टोलीले खेल सुरु हुनुअघिको सबै प्रशिक्षण सकाइसकेको थियो ।
मुनिकको रूममेट थिए शक्ति गौचन । शक्तिले त्यसै पनि उनलाई जोस्याइरहेका हुन्थे । आफ्नो तुलनामा शक्तिलाई निकै शान्त स्वभावका पाएका थिए मुनिकले । कप्तान भएर होला शक्ति कम बोलेको आँकलन उनको थियो । नेपाली टोलीको रणनीतिअनुसार नै शक्तिले टस जितेपछि ब्याटिङको निर्णय लिए । ‘मेरो स्कोर ७ रन भएको समयमा मैले युइन (सिंगापुर बलर) को बलमा चौका प्रहार गरेको थिएँ, अघिल्लो खेलमा रनआउट भएकाले उक्त बाउन्ड्रीपछि त पूरै ओभर खेलौंला भन्ने आत्मविश्वास बढेर आयो,’ मुनिक २० वर्षअघिको शतकीय इनिङ्स सम्झिँदै थिए, ‘४० देखि ४५ रनमा खेलिरहेको बेला फेरि रनआउट हुने डरले केही अत्तालिएको थिएँ ।’
अर्धशतक बनाएपछि ५५ रनसम्म पुग्दा सबै सिंगल रन लिएको सम्झन्छन् । त्यसपछि भने १६ बलको अन्तरमा ६ चौका प्रहार गर्दै उनी ८० रनमा पुगिसकेका थिए । अनि मुनिकलाई बलुचले ‘यू मोस्ट स्कोर सेन्चुरी’ भनेको अर्थ थाहा हुन लाग्यो । पेट दुखेकाले उनका रनरका रूपमा दीपेश खत्री क्रिजमा थिए । मुनिक त्यसपछि ९० रनसम्म पुग्दा पूरै रक्षात्मक भएर खेल्न लागे । उनी यसबीचमा एक चौकामात्र प्रहार गरे । राजा जैदीलाई चौका प्रहार गर्दै ९८ रनमा पुगे । ४१ औं ओभर फाल्न युईन आएका थिए ।
‘मन्जित दाइ (श्रेष्ठ) ले पहिलो बलमै एक रन लिँदै मलाई स्ट्राइक दिनुभयो । युईनलाई खेलको तेस्रो ओभरमा चौका प्रहार गरिसकेकाले मलाई शतक टाढा जस्तो लागेन । दोस्रो बल हाफ भलीमा थियो । मैले फिल्डरहरूलाई कुनै मौका नदिई कभरमा चौका प्रहार गरेर शतक बनाउन सफल भएँ,’ मुनिकले शतक बनाएको क्षण स्मरण गरें, ‘शतक बनाएपछि मैले ब्याट सामान्य हिसाबले नै उठाएको थिएँ । दीपेश दाइले यो नेपालको पहिलो अन्तर्राष्ट्रिय शतक भएकाले यस्तो रमाइलो र ऐतिहासिक क्षण जीवनमा कमै आउने हुनाले ब्याट अझै उचालेर राख्नु भन्नुभयो । मलाई यो भनाइले भावुक बनायो र एकछिन आफूलाई सम्हाल्न गाह्रो भयो ।’
शतक बनाउनेक्रममा प्रहार गरेको बाउन्ड्री मुनिकको इनिङ्सको १३ औं चौका थियो । त्यसक्रममा उनले १ सय ७० मिनेट क्रिजमा बिताउँदै १ सय २५ बल खेलिसकेका थिए । शतकपछि थाकिसकेकाले कमै स्ट्राइक लिएको उनी सम्झन्छन् । शतकसँगै मुनिकलाई टिमको स्कोरले खुसी तुल्यायो । मुनिकको अविजित १ सय १३ रनमा नेपालले ६ विकेट गुमाई २ सय ९५ रन बनाएको थियो । प्रशिक्षक बलुचले दिएको लक्ष्यभन्दा नेपाली ब्याट्सम्यानले राम्रो खेलेका थिए ।
नेपालले खेल जित्न धेरै कुर्नुपरेन । इरफान सिद्दिकीले ४ विकेट लिएपछि सिंगापुर २१ ओभरभित्र ७१ रनमा अलआउट भयो । २ सय २४ रनको जित नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो थियो । सेमिफाइनल पुग्न नसके पनि नेपालका लागि मुनिकको शतक र अन्तिम दुई खेलको जित विशेष बनेको थियो ।
नेपालले सन् २००० मा गरेको पाकिस्तान भ्रमण मुनिकको पहिलो अन्तर्राष्ट्रिय
प्रतियोगिता थियो । त्यहाँ उनले खासै राम्रो गर्न सकेका थिएनन्, न त नेपालको प्रदर्शन नै राम्रो भएको थियो । ‘पाकिस्तान र बंगलादेशजस्ता स्तरीय टोलीसँग खेल्दा हामीले धेरै सिक्न पाएका थियौं । यो हामीलाई अनुभव भएको थियो । त्यसपछि हामीले राम्रो तयारी गर्नैपर्छ भन्ने भयो । साथीहरू सागर पन्त, शरद भेषावकर, अभय राणा मिलेर आफैंआफैं खेलिरहेका हुन्थ्यौं । हामीले राम्रो तयारी गर्दै गएका थियौं । मेरो खेल पनि त्यहीअनुसार सुध्रिएको थियो,’ मुनिकले सुनाए ।
त्यसपछि आफ्नो खेल अझ सुध्रिएको उनी मान्छन् । ‘बंगलादेशसँग हाम्रो खेल राम्रो भयो । पाकिस्तानलाई हामीले ठूलो चुनौती दिन सक्यौं । सलमान बट पाकिस्तानी कप्तान थिए । हाम्रो खेलबाट प्रभावित भएर नजिक आएर उनले कुरा गर्न थालेका थिए । कुवेतसँग मैले राम्रो गरेको हुनाले प्रशिक्षकले मलाई शतक हान्नुपर्छ भन्नुभएको थियो,’ मुनिकले सम्झिए, ‘सिंगापुरसँग हाम्रो राम्रोसँग सुरुआत भएको थियो । आउटफिल्ड निकै फास्ट थियो, ब्याटमा राम्रोसँग लाग्यो भने बल सिधै बाउन्ड्रीलाइन पुग्थ्यो । कभर ड्राइभ राम्रो भएको थियो । साथीहरूसँग खेल्दा यही शट ट्राइ गरेको थिएँ । २०–२२ रनमा एउटा लाइफ पाएको थिएँ, क्याच सजिलो त थिएन । प्वाइन्टमा डाइभ हान्नुपर्ने खालको थियो ।’
पेभेलियन फर्किंदा सबै खुसी हँॅदै मुनिकलाई ‘वेलडन’ भनिरहेका थिए । ‘इनिङ्स सकिएर गएपछि लन्च ब्रेकमा सबैले मलाई बधाई दिए, नेपालबाट पहिलो शतक हान्यौं भनेर । शतक बनाउनुअघिको समयमा दौडिन सकेको थिइनँ । रनर राख्नुपरेको थियो । पेट दुखेको हो कि क्र्याम्प भएको अहिले मैले सम्झिन सकिनँ,’ मुनिक शतकीय क्षण स्मरण गर्दै थिए, ‘९० को स्कोरमा पुगेपछि दबाबले होला मेरो खेल केही स्लो भयो । विश्वविद्यालयको मैदान,
स्ट्यान्ड नभए पनि पालभित्र दर्शक राम्र्रै देखिएको थियो ।’
िि
िमुनिकको परिवार नै शतकमय थियो । उनका माहिला दाइ मोनिरले २००० मा दिल्लीमा लाला हरिराम क्रिकेट प्रतियोगितामा आसाम टोलीविरुद्ध १ सय २३ रन बनाएका थिए । मोनिर १९९८ मा काठमाडौंमा भएको एसीसी ट्रफीमा नेपाली टोलीका सदस्य थिए । ठूलो दाइ मोनिष घरेलु क्रिकेटका स्थापित खेलाडी थिए । शतक उनको वरिपरि घुमिरहन्थ्यो । बंगलादेशमा बनाएको त्यही शतकपछि मोनिक सिधै क्यानडा आईसीसी ट्रफी खेल्न जाने नेपाली टोलीमा परेका थिए । उनले जय ट्रफी पनि खेलेका थिएनन्, जुन छनोट आधार मानिएको प्रतियोगिता थियो । मुनिकलाई प्रशिक्षक बलुचले सोझै राष्ट्रिय टोलीमा तानेका थिए । मुनिक राष्ट्रिय प्रतियोगिता नै नखेली नेपाली राष्ट्रिय टोलीमा पर्ने पहिलो खेलाडी पनि हुन् । संयोगले त्यही राष्ट्रिय टोलीबाट नै उनको पहिलो र अन्तिम भ्रमण बन्यो ।
बंगलादेश एसीसी यू–१७ एसिया कप खेल्न जाँदा मुनिकको १० कक्षाको टेस्ट परीक्षा छुटेको थियो । बंगलादेशबाट फर्किएपछि उनको स्कुल सिद्धार्थ वनस्थलीले छुट्टै परीक्षा दिने व्यवस्था मिलाइदिएको थियो । नेपालले २००१ मा एसीसी यू–१९ कप आयोजना गर्दै थियो । मुनिक त्यसको क्याम्पमा त थिए । भर्खर हिमालयन ह्वाइटहाउसमा प्लस टु पढाइ सुरु भइसकेकाले उनले निवेदन दिएर क्याम्प छोडे । उनले खेल्नै छाडेका चाहिँ थिएनन् । स्कुल र कलेजका प्रतियोगिता खेलिरहेका थिए । पढाइ उनको मुख्य रोजाइ भयो । त्यसपछि मात्र क्रिकेट । उनी पढाइमै केन्द्रित हुन थाले । तत्कालीन प्रशिक्षक रोय डायसले उनलाई क्रिकेट खेलिराख्नु भनेर सम्झाएका थिए ।
घरेलु प्रतियोगितामा भने उनी यंगाल क्लब, महावीर क्लब, यती एयरलाइन्स, सिर्जनशीलबाट खेलिरहेका थिए । उनले अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न २००४ को आईसीसी यू–१९ विश्वकप कुर्नुपर्‍यो । बंगलादेशमा उनी नेपाली टोलीको मुख्य आशा बनेर गएका थिए । तर हातको औंलामा चोट लागेपछि उनी बीचैमा फर्किनुपरेको थियो । उनको स्थान लिन प्रेम चौधरी ढाका उडेका थिए ।
अध्ययनका लागि त्यही वर्ष मुनिक अमेरिका लागे । तर अमेरिकामा पनि उनको क्रिकेट प्यासन रोकिएन । कलेज नै परिवर्तन गरे । २००९ सम्म खेले नियमित । वासिङटन क्रिकेट लिग खेल्थे उनी । २०१० पछि क्रिकेटबाट छुट्टिन थाले । यद्यपि वर्षको एकपल्ट हुने कलेज प्रतियोगितामा उनी अहिले पनि सहभागिता जनाउँछन् । फिजिक्समा पीएचडी सिध्याएका उनले पोस्ट डक्टरल रिसर्च गरिरहेका छन् । कोभिड–१९ को महामारीमा यही विषय उनलाई काम लागेको छ । अहिले पनि उनी नेपाली क्रिकेटलाई पछ्याइरहन्छन् । गत वर्ष नेपाल आउँदा दक्षिण एसियाली खेलकुदमा श्रीलंकासँगको खेल कीर्तिपुरमै गएर हेरेका थिए । विश्व
ट्वान्टी–२० को सफलता, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त सबैको चासोसाथ अपडेट लिइरहेको उनी सुनाउँछन् । उनले भने, ‘नेपाल ट्वान्टी–२० विश्वकप छनोटमा पुगेको अमेरिकामा राति २–३ बजेसम्म बसेर हेरेको थिएँ ।’
मुनिकको शतकयता नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा २३ शतक बनिसकेको छ । राजु खड्काले नेपाली राष्ट्रिय टोलीबाट पहिलो शतक बनाए । परेश लोहनीले तीनदिवसीयमा दुई शतक बनाएका छन् । पारस खड्का ५ शतक बनाउने एक्लो खेलाडी हुन् । रित गौतमले उमेर समूहमा दुई शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यी सबैभन्दा मुनिकको शतक फरक छ । किनभने उनको शतक नेपालको आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो थियो ।

खेलकुद

मेयर कप फुटबल सुरु

- कान्तिपुर संवाददाता

मकवानपुर (कास)– हेटौंडामा मेयर कप फुटबल प्रतियोगिताको शुक्रबार उद्घाटन खेलमा हेटौंडा–११ ले वडा नम्बर १ लाई ४–० गोलले पराजित गरेको छ । हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदानमा विजेताका ललित चौलागाईं र सुमित प्रधानले समान २ गोल गरेका थिए । हेटौंडा उपमहानगरको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए । प्रतियोगितामा १९ टोलीले भाग लिएका थिए । 

खेलकुद

आङछिरिङको स्मृतिमा गल्फ

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– यती एयरलाइन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता हुने भएको छ । यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा फागुन २१ र २२ मा हुने प्रतियोगितामा देशका १ सय ५० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जनाए । यती एयरलाइन्सले आगामी वर्षमा प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालका सुदूरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीयस्थलमा प्रतियोगिता गर्दै लैजाने योजना बनाएको छ । मुख्य ११ विधामा पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । मुख्य विजेताले ५ लाखबराबरको ट्राभल प्याकेज जित्नेछन् ।

खेलकुद

बुटवल राइनोजको घटुवा

- कान्तिपुर संवाददाता


तिलोत्तमा (कास)– लगातार दुई खेलमा पराजित बुटवल राइनोज रूपन्देही सुपर लिग क्रिकेटको डिभिजन ‘बी’ मा घटुवा भएको छ । डिभिजन ‘ए’ अन्तर्गत शुक्रबार बुटवल ११ ले बुटवल राइनोजमाथि १ सय १४ रनको जित निकालेको हो । टस हारेको बुटवल ११ ले ३२.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९९ रन बनायो । इशान पाण्डेले ८३ र प्रकाश केसीले ६५ रन बनाए । राइनोजका सुमन गमेलले ६, अस्लाम अली र अर्बिन सारुले समान २ विकेट लिए । जवाफमा बुटवल राइनोज ८५ रनमै समेटियो । सनित श्रेष्ठले सर्वाधिक १३ रन जोडे । म्यान अफ द म्याच बुटवलका इशान पाण्डेले ३ विकेट लिए ।

खेलकुद

डकाहा र चन्दनपुर विजयी

- कान्तिपुर संवाददाता

 

सिन्धुली (कास)– सिन्धुलीमाडीको लोकतान्त्रिक खेलकुद मैदानमा जारी नरबहादुर बम्जन स्मृति कप खुला फुटबलमा शुक्रबार जनहितैषी क्लब डकाहाले नमुना युवा क्लबलाई ४–२ ले पराजित गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा खेलको छिनोफानो भएको थियो । अर्को खेलमा कमलामाईको चन्दनपुरले डाडीगुराँसे युवा क्लबलाई ४–० ले हरायो ।

खेलकुद

अजिमाका रेगनलाई सफलता

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ प्रथम चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकरमा शुक्रबार लास्ट ब्रेकका सनोज खड्गीलाई ५–२ को फ्रेममा पराजित गर्दै क्वाटरफाइनल पुगेका छन् । फस्ट ब्रेकका अमन कार्कीले माउन्ट एभरेस्टका कृतेश ज्ञवालीलाई ५–३, एएक्सएनका वाङचु तामाङले ब्रेक प्वाइन्टका सञ्जय वज्राचार्यलाई ५–४ र एस स्नुकरका मिलन लामाले बेम्बु कटेजका राजन गुरुङलाई ५–१ फ्रेमले हराएर क्वाटरफाइनल तय गरे ।