You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

सम्पादकमा चौहान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– कान्तिपुर दैनिकको सम्पादक पदमा उमेश चौहान नियुक्त भएका छन् । दुई दशकदेखि पत्रकारितामा संलग्न पत्रकार चौहानलाई शुक्रबार कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले स्वागत गरे ।
यसअघि नयाँ पत्रिका दैनिकको सम्पादक पदमा कार्यरत रहेका अर्घाखाँचीका चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग रेडियो र टीभीको पनि कार्यानुभव छ । चौहानले कान्तिपुर समाचार कक्षमा प्रधान सम्पादकको मातहत रही सम्पादकीय सामग्रीको संयोजन एवं उत्पादन गर्ने व्यवस्थापनले जनाएको छ । उनलाई स्वागत गर्दै केएमजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले कान्तिपुरलाई समयसापेक्ष सुधार गर्दै थप उचाइमा पुर्‍याउन आवश्यक रहेको बताए ।
प्रधान सम्पादक शर्माले नेतृत्वदायी सहकर्मीका रूपमा चौहानलाई समाचार कक्षमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । नवनियुक्त सम्पादक चौहानले नेपाली पत्रकारितामा कान्तिपुरको आफ्नै विरासत, शैली र प्रभाव रहेकाले त्यसलाई थप समृद्ध बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

मुख्य पृष्ठ

अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला

- देवेन्द्र भट्टराई

(काठमाडौं) - भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको
येल विश्वविद्यालयमा भेटिएको छ । लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मूर्ति अमेरिकामा भेटिएकामा गोलमढीका श्रद्धालुजनले समेत आश्चर्य मानेका छन् ।
नेपालबाट चोरिएका/हराएका सम्पदाको खोजीनितीसम्बन्धी अन्तर्राष्ट्रिय अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले गत साता सार्वजनिक गरेको सूचनाबाट गोलमढीको उक्त मूर्तिबारे थाहा भएको हो । लस्ट आटर््स अफ नेपालले सन् ८० को दशकमा वीरभद्रेश्वर मन्दिरबाट हराएको ताराको मूर्ति अमेरिकाको कनेटिकटस्थित येल युनिभर्सिटीको संग्रहालयमा रहेको उल्लेख गरेको छ । श्रद्धालुले भने उक्त मूर्ति ताराको नभई पार्वतीको रहेको बताएका छन् । गोलमढीका ८३ वर्षीय चन्द्रमान राजभण्डारीले आफ्नो खलकले वर्षौंदेखि पाठपूजा गर्दै आएको पार्वतीको मूर्ति २०३५ सालतिर हराएको सुनाए ।
येल विश्वविद्यालयको वेबसाइटमा उक्त मूर्तिलाई ‘बुद्धिस्ट गडेस तारा’ भनेर चर्चा गरिएको छ । वेबसाइटका अनुसार सन् १९७६ मा भक्तपुर, गोलमढीबाट प्राप्त उक्त मूर्ति सुरुमा स्पिन्क एन्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कलासम्पदाका संग्रहकर्ता जेम्स एन्ड मार्लिन एल्सडर्फलाई बेचेको थियो । सन् १९८४ मा जेम्स दम्पतीले यो सम्पदा किनेका हुन् । मूर्ति सन् २००२ मा माइकल एन्ड जर्जियाले न्युयोर्कमा पुर्‍याएको देखिन्छ । येल विश्वविद्यालयमा भने सन् २०१५ मा यो सम्पदा पुगेको देखिन्छ । कसले उक्त विद्यालयमा बुझाएको हो भन्ने स्पष्ट खुलेको छैन । गोलमढीबाट हराएको कलात्मक मूर्ति अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयको आर्ट ग्यालरीमा फेला परेको सूचना आएपछि विश्वविद्यालयकी आर्ट–क्युरेटर एन्टोनिया बर्तोलसँग जिज्ञासा राखिए पनि जवाफ आएको छैन ।
वीरभद्रेश्वर महादेव मन्दिरका पुजारी कीर्तिनाथ मिश्रका अनुसार पार्वतीको मूर्ति एकाएक हराएपछि प्रतिलिपि मूर्ति बनाएर नित्यपूजा हुँदै आएको छ । इतिहासको अभिलेखमा स्वीस अध्येता उसर्लच भोन स्क्रोडरले समेत भक्तपुर भ्रमणका क्रममा गोलमढीस्थित पार्वतीको तस्बिर २०३३ सालमा खिचेका थिए । उनले उक्त मूर्तिसम्बन्धी विवरण ‘नेप्लिज स्टोन स्कल्प्चर्स’ शीर्षक पुस्तकमा समेटेका छन् ।
सम्पदाविद् रवीन्द्र पुरीका अनुसार गोलमढीस्थित वीरभद्रेश्वर महादेव परिसरकै शिलालेखमा उल्लेख भएअनुसार त्यहाँको शिव–पार्वती मूर्ति अंशुवर्माकालीन रहेको प्रमाणित भएको छ । इतिहासविद् धनवज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ (२०३०) पुस्तकमा गोलमढी शिवदेव संवत् ५१६ मा अंशुवर्मा ‘महासामन्त’ उपाधिबाट विभूषित भएपछि स्थापना गरिएको उल्लेख छ । ‘अमेरिकी विश्वविद्यालय र अरू अध्येताले ताराको मूर्ति भनेर प्रचार गरे पनि यो पार्वतीकै मूर्ति रहेको स्पष्ट देखिन्छ,’ पुरीले भने । कला–सम्पदा र सभ्यताको कुरा पढाउने अमेरिकी विश्वविद्यालयले नेपालबाट चोरिएको सम्पदा आफ्नो संग्रहालयमा राखेको भन्ने सूचना आफैंमा लाजमर्दो रहेको उनले बताए । युनेस्को अभिसन्धि र ‘सम्पदा उत्पत्ति मुलुक’ को आधारलाई हेरेर पनि यो प्राचीन अंशुवर्माकालीन नेपालको सम्पदा तत्काल घर फर्काइनुपर्नेमा उनले जोड दिए ।
सम्पदासम्बन्धी विज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले भने ‘धार्मिक र सांस्कृतिक
सद्भाव रहेको समाजमा शिव मन्दिरभित्र तारा (बौद्धमार्गी) मूर्ति रहन सम्भव रहेको’ धारणा राख्दै यो सम्पदामा देवीको ‘बसुधरा रूप’ देख्न सकिने बताए । ‘यो एउटै मूर्तिलाई हिन्दुहरूले पार्वतीका रूपमा र बौद्धहरूले ताराका रूपमा मान्दै आएका हुन सक्छन्,’ उनले भने, ‘हाम्रो समाजमा सम्प्रदाय गौण रहिआएको छ । यो मूर्तिमा देखिएको प्रतिमा लक्षणकै आधारमा पनि यो ताराकै मूर्ति हो कि भन्ने देखिएको छ ।’ अमेरिकाको कनेटिकट राज्यको नेपाली मामलासमेत हेर्ने न्युयोर्कस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येल विश्वविद्यालयमा रहेको नेपाली सम्पदाबारे जानकारी पाएको उल्लेख गर्दै यसबारे छिट्टै पत्राचार प्रक्रिया अघि बढाउने बताए ।

मुख्य पृष्ठ

एमाले विवाद 'सहमति’ नजिक

- बबिता शर्मा

(काठमाडौं) - पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका करिब आधा दर्जन विषयमा सहमतिको मस्यौदा तयार गरेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग गरिएको हस्ताक्षर फिर्तामा नेता माधव नेपालको समूह नमानेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय भने टुंगिन बाँकी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय पनि दुई नेताबीचकै सहमतिबाट मात्र टुंगिनेछ ।
मस्यौदामा अध्यक्ष ओली र वरिष्ठ
नेता नेपालसँग परामर्श गरेर शनिबार औपचारिक सहमतिपत्र तयार गर्ने कार्यदल सदस्यहरूको तयारी छ । शुक्रबार सात घण्टाभन्दा बढी बसेको बैठकमा जुटेको सहमतिले एमालेको आन्तरिक विवादलाई किनारा लगाउनेमा कार्यदलका नेताहरू विश्वस्त देखिन्छन् । उनीहरूको प्रतिक्रिया विगतको भन्दा बढी सकारात्मक छ । तर यसअघि नेताहरूबीच भएका भनिएका सहमति अन्तिम अवस्थामा भाँडिएका उदाहरण पनि छन् ।
कार्यदल सदस्यहरूका अनुसार शुक्रबार पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा
सहमति जुटेको छ । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको थियो । यस्तै, माओवादीसँगको एकतापूर्वको २ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्न दुवै पक्ष तयार भएका छन् । ‘एकतापूर्वको केन्द्रीय कमिटीलाई मानेर
जाने र योग्यतम् कमरेडहरूलाई समावेश गर्ने भन्नेमा सहमति जुटेको छ,’ कार्यदलका एक सदस्यले भने । २ सय ४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने ओली पक्षको प्रस्तावमा यसअघि झलनाथ खनाल–नेपाल पक्षले असहमति राख्दै आएको थियो ।
कार्यदलका एक नेताका अनुसार पूर्वमाओवादी नेता र खनाल–नेपाल पक्षका पुराना र अनुभवी नेतालाई विधि र प्रक्रिया पुर्‍याएर केन्द्रीय कमिटीमा राख्ने सहमति भएको छ । पहिला केन्द्रीय कमिटी बसेर त्यसले विधि र प्रक्रियाबारे निर्णय गर्नेछ । तर त्यसपछि केन्द्रीय कमिटी कति सदस्यीय बन्ने भन्नेमा यकिन छैन ।

दुवै पक्षका नेता सम्मिलित कार्यदलका सदस्यले ‘पार्टी र संसदीय दल संस्थागत हिसाबले चल्ने’ भन्नेमा सहमति गरेका छन् । कार्यदलका एक सदस्यका अनुसार पार्टीको नवौं महाधिवेशनबाट पारित कार्यदिशा र विधानलाई २०७५ जेठ २ मा फर्केर पालना गर्ने भन्नेमा पनि दुवै पक्ष मञ्जुर छन् । ‘सहमति कार्यान्वयनका लागि विधानमा व्यवस्था’ गरेर जाने भन्नेमा पनि मत मिलेको छ । ‘सहमति कार्यान्वयनका लागि आवश्यक परे विधान महाधिवेशन गर्न तयार हुने सहमति भएको छ,’ कार्यदलका ती सदस्यले भने । विधान महाधिवेशन ओली पक्षले एकलौटी रूपमा घोषणा गरिसकेको थियो । यो घोषणाप्रति खनाल–नेपाल समूहले आपत्ति जनाइरहेको थियो ।
कार्यदल तहमा सहमति जुटेको अर्को विषय हो– विगतका कमीकमजोरीलाई बिर्सेर पार्टी भावनात्मक हिसाबले एकताबद्ध गर्न समग्र पार्टी पंक्तिलाई आह्वान गर्ने । पार्टी एकताको प्रतिकूल हुने निर्णयहरू कायम नरहने भन्ने सहमति पनि कार्यदल तहमा जुटेको छ । यसअघि ओली पक्षले तल्लो तहसम्मका नेता–कार्यकर्तालाई पार्टीविरुद्ध लागेको भन्दै कारबाही गरेको थियो । यस्ता कारबाही एकताको प्रतिकूल हुने भएकाले सच्याउने सहमति
बनेको छ । सहमति जुटेका विषयको भाषामा शनिबार केही परिमार्जन हुन सक्ने कार्यदलका सदस्यले बताए ।
प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा भने कस्तो धारणा राख्ने भन्ने विषयमा लामो गृहकार्य र छलफलबाट पनि कार्यदल तहमा सहमति जुट्न सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित दायर रिटमा प्रयोग भएका एमालेका २३ पूर्वसांसदको हस्ताक्षर फिर्ताको विषय भने ‘बन्द’ भएको छ । हस्ताक्षर फिर्तामा नेपाल पक्ष तयार छैन । फिर्ता नै नभएको अवस्थामा पनि मुद्दाबारे समान धारणा बनाउने र यसका लागि सहमतिको भाषामा के लेख्ने भन्नेमा कुरा मिल्न बाँकी रहेको छैन । साझा भाषाको सन्दर्भमा शनिबार बस्ने बैठकले निष्कर्ष निकाल्ने नेताहरूको दाबी छ । ‘हस्ताक्षर फिर्ताको त च्याप्टर क्लोज भइसक्यो । प्रतिनिधिसभा विघटन र मुद्दाका सन्दर्भमा साझा भाषाको गृहकार्य भइरहेको छ । त्यसमा पनि शनिबार टुंगोमा पुग्छौं,’ कार्यदलका ती सदस्यले भने ।
कार्यदल सदस्य प्रदीप ज्ञवालीले पार्टीको भविष्य के होला भन्ने नेता–कार्यकर्ताको चिन्तालाई अन्त्य गर्ने गरी शनिबार सहमतिका साथ टुंगोमा पुर्‍याउने बताए । ‘करिब सात घण्टाको बसाइपछि पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं । सहमतिको दस्ताबेजलाई अन्तिम रूप दिन अर्थात् भाषिक परिमार्जनलगायतका केही विषय मात्र बाँकी छन्,’ उनले भने । कार्यदलका अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि धेरै विषयमा सहमति जुटेको र बाँकी विषय शनिबार टुंग्याउने बताए । ‘छलफल गर्दै जाँदा समय अभाव भयो । बाँकी रहेका विषय भोलि टुंग्याउँछौं । हामी सहमति गर्छौं,’ उनले भने ।
दोस्रो तहका नेताहरूको सक्रियता र निरन्तरको अनौपचारिक छलफलपछि अध्यक्ष ओली र नेता नेपालले डेढ महिनादेखि निष्क्रिय कार्यदललाई सोमबारदेखि सक्रिय बनाएका थिए । कार्यदलकै पहलमा बुधबार अध्यक्ष ओली र नेता नेपाल वार्तामा बसेका थिए । बिहीबार ओली र नेपाललाई पुनः वार्तामा बसाउने उनीहरूको योजना थियो । तर ठोस प्रगति नभएपछि उनीहरूबीच पुनः छलफल भएन । शनिबार सबै विषयमा सहमति जुटे ओली र नेपालबीच पुनः वार्ता गराउने तयारी कार्यदल सदस्यहरूको छ ।


के–के कुरा मिल्यो ?
-पार्टीका संरचना २०७५
जेठ २ को अवस्थाबाट सक्रिय बनाउने
-२४१ सदस्यीय केन्द्रीय सदस्यलाई मान्यता दिने
-माओवादी केन्द्रबाट आएका
नेतालाई विधि पुर्‍याएर केन्द्रीय कमिटीमा राख्ने
-पार्टी र संसदीय दल संस्थागत रुपमा चलाउने
-पार्टी एकता प्रतिकूल हुने निर्णय कायम नरहने
-आवश्यकता परे विधान महाधिवेशन गर्ने
के–के बाँकी ?
-प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाबारे समान धारणा के हुने ?
-ओली र नेपालबीचको शक्ति बाँडफाँट कसरी गर्ने ?

 

मुख्य पृष्ठ

चीनबाट आएको खोप सिधै प्रदेशमा

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सरकारले चीनबाट खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोप प्रदेशको चिस्यान केन्द्रमा पठाउन थालेको छ । चीनसँग खरिद गरिएको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा ल्याइएको छ । बाँकी खोप साउन पहिलो सातासम्म ढुवानी गरिसक्ने सरकारको योजना छ ।
काठमाडौंको टेकुस्थित भण्डारणमा भेरोसेल खोप करिब ६ लाख मात्रा मात्रै अट्ने र अमेरिकी सरकारले दिने घोषणा गरेको १५ लाख मात्रा खोप पनि भण्डारण गर्नुपर्ने भएकाले स्वास्थ्य सेवा विभागले प्रदेशको भण्डारणमा ढुवानी थालेको हो । चीनबाट ल्याइएको खोपमध्ये २ लाख मात्रा हेटौंडा र पोखरामा पठाइएको विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । लुम्बिनीको बुटवलमा पनि चाँडै पठाइने विभागले जनाएको छ ।
सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खरिद गरेको ८ लाख मात्रा खोप आपूर्ति भएको स्वास्थ्य सेवा विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘असार २५ मा नेपाल वायु सेवा निगमको जहाजमार्फत पहिलो चरणमा आठ लाख डोज भेरोसेल खोप आपूर्ति भएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ विभागका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले जारी गरेको विज्ञप्तिमा छ, ‘प्राप्त खोप कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप योजनाअनुसार चरणबद्ध रूपमा लक्षित समूहलाई प्रदान गरिनेछ । खोप आपूर्ति गरी अभियानलाई निरन्तरता दिने व्यवस्था मिलाइएको छ ।’
चीनबाट ल्याएको खोप अब ५५ वर्षमाथि उमेर समूहका नागरिकलाई लगाउने तयारी छ तर यसको योजना सार्वजनिक भएको छैन । अब कुन समूहलाई खोप लगाउने भन्ने सोमबारसम्म निर्णय भइसक्ने मन्त्रालय स्रोतले जनाएको छ । ‘५५ वर्षभन्दा माथिको उमेर समूहलाई दिनेमा लगभग सहमत भइसकेका छौं, अर्को निश्चित वर्गलाई पनि दिने कि भन्ने छलफल भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

वैदेशिक रोजगारीमा जानेलाई
गन्तव्य मुलुकले खोप लगाउन अनिवार्य गरेपछि त्यस्ता व्यक्तिलाई पनि लगाउने योजना सरकारले बनाइरहेको छ ।
यसैगरी अमेरिकाले नेपाललाई १५ लाख मात्रा खोप सहयोग गर्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची–एलेनले जोन्सन एन्ड जोन्सन कम्पनीको खोप दिन लागेको कान्तिपुरलाई जानकारी दिइन् । ‘विस्तृत कुरा छिट्टै बाहिर ल्याउने छौं,’ उनले भनिन् ।
उनले यो खोप अमेरिकी जनताका तर्फबाट नेपाली जनताका लागि उपहारका रूपमा रहेको बताइन् । उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्नेबारेमा पूर्ण जानकारी आइनसकेको दूतावासले जनाएको छ । यसअघि नेपालले अमेरिकालाई खोप सहयोग दिन आग्रह गरेको थियो । साथै, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि खोप सहयोगका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् । उक्त पत्र लेखेको एक
महिना कटिसक्दा पनि अमेरिकी राष्ट्रपतिका तर्फबाट नेपालले जवाफ प्राप्त गरेको छैन ।
अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि जोन्सन एन्ड जोन्सनको ५० लाख मात्रा खोप खरिदका लागि पत्र लेखेको थियो । त्यस सम्बन्धमा पनि काम अघि बढ्न सकेको छैन । अमेरिकाले यसअघि नेपालसहित विश्वका विभिन्न मुलुकलाई गत महिनाभित्रै खोप सहयोग गर्ने जनाएको थियो तर नेपालले हालसम्म प्राप्त गरेको छैन ।

३५ लाखले खोप लगाइसके
भारत सरकारले १० लाख कोभिसिल्ड खोप अनुदान दिएपछि सुरु भएको अभियानमा शुक्रबारसम्म ३५ लाख ७६ हजार ३ सय १५ जनाले खोप लगाइसकेका छन् । यसमध्ये ९ लाख ६४ हजार ५ सय ८ जनाले दोस्रो मात्रा लगाइसकेका छन् । प्रदेश १ मा ७५ हजार ८ सय ४०, प्रदेश २ मा ५५ हजार ८ सय ५६, वाग्मतीमा ५ लाख ६० हजार ७८, गण्डकीमा ५६ हजार ७ सय ५६, लुम्बिनीमा १ लाख २१ हजार ३ सय ९९, कर्णालीमा ३३ हजार १ सय २५ र सुदूरपश्चिममा ६१ हजार ४ सय ५४ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।
माघ १४ बाट कोरोनाविरुद्ध खोप लगाउन सुरु भएको थियो । भारतबाटै नेपालले २० लाख मात्रा खोप खरिद गरेकामा १० लाख मात्रा अझै आएको छैन । चीन सरकारले १८ लाख मात्रा भेरोसेल खोप अनुदान दिएको थियो । कोभ्याक्स सुविधाबाट पनि ३ लाख ४८ हजार खोप आएको थियो ।


कतिले लगाए ?
पहिलो मात्रा २६,११,८०७
दुवै मात्रा
प्रदेश १: ७५,८४०
प्रदेश २: ५५,८५६
वाग्मती: ५,६०,०७८
गण्डकी: ५६,७५६
लुम्बिनी: १,२१,३९९
कर्णाली: ३३,१२५
सुदूरपश्चिम: ६१,४५४
जम्मा : ९,६४,५०८

Page 3
समाचार

लापरबाहीले बढ्यो संक्रमण

- सन्जु पौडेल,ठाकुरसिंह थारू

(लुम्बिनी/नेपालगन्ज) - निषेधाज्ञा खुकुलो बनाइएसँगै रूपन्देही र बाँकेमा कोरोना संक्रमण दर पुनः उकालो लाग्न थालेको छ । सरकारको नीतिअनुसार सुरु भएको ‘स्मार्ट’ निषेधाज्ञामा सर्वसाधारणले लापरबाही गर्दा संक्रमितको संख्या बढ्न र समुदायमा फैलिन थालेको हो । सार्वजनिक स्थल तथा सवारीसाधनमा मास्कको प्रयोग र भौतिक दूरी कायम गर्न छोडिएको छ । यसले गर्दा घट्दै गएको संक्रमण दर पुनः बढ्न थालेको हो ।
रूपन्देहीमा बिहीबार मात्रै ४७ जना संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३ सय ८१ पुगेको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए । गएको असार १९ गते ३१ मा झरेको संक्रमितको संख्या क्रमशः उकालो लाग्दै बिहीबार ४७ पुगेको हो । गएको एक सातामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । डा. गिरीले पछिल्लो समय पालिकाले मुख्य चोक र सडकमै समेत परीक्षणको दायरा बढाएकाले संक्रमित पत्ता लाग्ने क्रम बढेको बताए । नाकामा गरिएको कडाइ र एन्टिजेन परीक्षणले भारतबाट आउन सक्ने खतरालाई टारेको र सावधानी अपनाए रोग न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
कोरोना संक्रमितको उपचारका लागि तोकिएको बुटवलको कोरोना विशेष अस्पतालमा रहेका सबै बेड शुक्रबार बिरामीले भरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए । आकस्मिक कक्षमा रहेका १४, मेडिकल वार्डका ३८ र आईसीयूका १४ गरी सबै बेडमा बिरामी रहेको उनले बताए । ‘निषेधाज्ञा खुकुलो भएपछि जाँच गराउन आउनेको संख्या पनि बढेको छ,’ उनले भने, ‘सर्वसाधारणले स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमण दर बढ्दो देखिएको हो ।’ बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमै सारिएको जानकारी दिँदै डा. पाठकले अस्पतालमा कोरोनाबाहेकका बिरामी भर्ना र शल्यक्रियासमेत गरिरहेकाले संक्रमण दर बढ्दै गए अरू सेवा प्रभावित हुने बताए ।
त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा अहिले १४ जना कोरोनाका बिरामीको उपचार भइरहेको छ । जिल्लाभित्रकै बिरामी धेरै आउने गरेको अस्पतालका सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए । सर्वसाधारणले निषेधाज्ञा खुकुलो भएसँगै भाइरस नै सिद्धिए जसरी हिँडडुल र भीडभाड बढाइरहेकाले संक्रमण बढ्ने निश्चित रहेको उनले बताए ।
दैनिकी सहज बनाउन निषेधाज्ञा खुकुलो गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । कोरोनाको जोखिम पहिलेको तुलनामा धेरै कम भइसकेकाले पुरानै बिन्दुमा पुग्ने स्थिति नआउने उनले दाबी गरे । ‘जसका लागि खुकुलो गरिएको हो उसैले मापदण्ड नआपनाइदिँदा समस्या आएको हो,’ उनले भने ।

बाँकेमा पनि उस्तै
स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारे पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डमा संक्रमण दर घट्न सकेको छैन । तर जिल्लामा संक्रमण घटेको भन्दै निषेधाज्ञालाई खुकुलो पारिएको हो । पछिल्लो समय एक साताका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको छ । तर बजार, यातायात, सरकारी कार्यालय पूर्ण रूपमा खुलिसकेका छन् । सर्वसाधारणले मास्क लगाउन छाडेका छन् । भीडभाड बढेको छ । सावधानी नअपनाउँदा संक्रमण दर पनि बढेको छ ।
जिल्लामा दैनिक संक्रमण दर २५ प्रतिशतमा झर्दा बजार खोलिएको थियो । त्यसयता यो दर ३२ प्रतिशतसम्म पुगेको छ । ‘पछिल्लो ४ दिनको अभिलेख हेर्नेर् हो भने १२ देखि ३२ प्रतिशतसम्म देखिएको छ । त्यसैले संक्रमणले डरलाग्दो रूप लिन सक्ने खतरा टरेको छैन,’ भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट प्रमुख फिजिसियन डा. राजन पाण्डेले भने, ‘नेपालगन्जमा सावधानी अपनाएको देखिँदैन । त्यसैले संक्रमण बढ्ने सम्भावना बढी छ ।’
गत वर्ष संक्रमण घटेको भन्दै असारमा निषेधाज्ञा हटाइएकामा दोस्रो लहरमा पनि नेपालगन्ज कोरोनाको हटस्पट बनेको थियो । यस वर्ष पनि त्यही दृश्य देखिएको छ । चिकित्सकहरूले निषेधाज्ञा हटाइए पनि सावधानी अपनाउन र स्वास्थ्य मापदण्ड पूरा गर्न सुझाए पनि कार्यान्वयन भएको छैन । जसका कारण संक्रमण काबुबाहिर जाने खतरा उत्तिकै छ । ‘संक्रमण घटेको हो तर नियन्त्रण भएको होइन,’ डा. पाण्डेले भने, ‘सबैभन्दा ठूलो कुरा सावधानी अपनाउनु नै हो ।’
संक्रमण घटेपछि नेपालगन्ज शिक्षण अस्पतालले कोरोना वार्ड बन्द गरिसकेको छ । तर भेरी अस्पतालले भने तेस्रो लहर आउन सक्ने भन्दै तयारीमा जुटेको जनाएको छ । भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डा. संकेत रिसालले पछिल्लो समय लापरबाही बढेकाले फेरि पनि अवस्था भयावह हुन सक्ने चेतावनी दिए । ‘स्वास्थ्य मापदण्ड अपनाइएको छैन । पूरै बेवास्ता छ,’ उनले भने, ‘कोरोना नियन्त्रणका लागि दूरी कायम गर्नु नै मुख्य कुरा हो तर त्यस्तो देखिन्न ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले थप एक साताका लागि निषेधाज्ञालाई निरन्तरता दिएको बताए । उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरिएको जनाए । जिल्लामा हालसम्म संक्रमितको १७ हजार ४ सय २६ र संक्रमणमुक्त हुनेको संख्या १७ हजार १ सय २४ छ । जिल्लाभित्रका ३ सय ११ र बाहिरका ३ सय ६६ जनाले ज्यान गुमाएका छन् । हाल ३१ जनाको आईसीयूमा र बाँकी ३ सय ६७ संक्रमित आइसोलेसनमा रहेका छन् ।

 

समाचार

माओवादी केन्द्रको वैधता परीक्षण गर्न माग

- राजेश मिश्र

(काठमाडौं) - माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरू पूर्वपार्टी अवैधानिक दाबी रहेको गर्दै दर्ता खारेजीका लागि निर्वाचन आयोग धाउन थालेका छन् । उनीहरूले शुक्रबार आयोगमा पुगेर माओवादी केन्द्रको वैधताको परीक्षण गर्न दबाब दिएका छन् । दुई दिनअघि उनीहरूका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले दुई दिनअघि लामो अवधिसम्म महाधिवेशन नै नगरेको भन्दै माओवादी केन्द्रको वैधतामा प्रश्न उठाउँदै आयोगमा निवेदन दिएका थिए । माओवादी केन्द्रले भने यसलाई पार्टीविरुद्ध दुष्प्रचार गर्ने प्रयत्न भनेर टिप्पणी गरेको छ ।
माओवादी केन्द्रले २०६९ सालपछि महाधिवेशन नै नगरेको आधार देखाउँदै रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहलगायतका पूर्वमाओवादी नेताहरूले पार्टीको दर्ता खारेजीको माग गरेका हुन् । शुक्रबार रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरू आयोग पुगेका थिए । संविधानमा राजनीतिक दलको महाधिवेशन ५ वर्षमा गर्नुपर्ने र विशेष परिस्थितिमा थप ६ महिनाभित्र गर्न सकिने व्यवस्था छ । साढे ५ वर्ष ननाघ्दै २०७५ जेठ ३ मा माओवादीले एमालेसँग एकता गरेको थियो । माओवादी केन्द्रले भने दर्ता खारेजीको मागलाई केही अवसरवादी, स्वार्थी, लालच र अनैतिक तत्त्वले पार्टीको बदनाम गराउने प्रयत्न भनेको छ । पार्टीका केन्द्रीय सचिव श्रीराम ढकालले शुक्रबार वक्तव्य निकालेर पार्टीसँग सरोकार नै नराख्ने व्यक्तिले संविधान, कानुन, विधि, विधानविपरीत दल दर्ता र खोरजीको सम्बन्धी सामान्य जानकारीसमेत नराखी हास्यास्पद काम गरेको टिप्पणी गरेका छन् । पार्टीका तर्फबाट निर्वाचन आयोगसँग सम्पर्कमा रहने माओवादी नेता लीलामणि पोखरेलले आफ्नो पार्टीलाई अवैधानिक भन्नु बेतुक रहेको दाबी गरे । ‘पार्टी छाडेर अर्कोमा गइसकेका व्यक्तिहरूले अवैधानिकताको कुरा उठाउनुको के अर्थ हुन्छ ?,’ उनले भने, ‘सबै सुविधा लिइन्जुल त्यो पार्टी वैधानिक हुने र अहिले सबै गुमेपछि अवैधानिकताको कुरा उठाउने !’ सडकमा हिँड्ने जोसुकैले फलाना पार्टी अवैध हो भनेर हिँड्दा निर्वाचन आयोग त्यसको पछि लाग्न नमिल्ने उनको भनाइ छ । ‘यो आयोगको कार्यक्षेत्रमा पर्ने विषय पनि होइन । त्यसका लागि पनि हकदैया लाग्ने सरोकारवाला व्यक्ति नै आयोगमा एक खालको मागदाबी लिएर पुग्नुपर्छ,’ उनले भने ।
पूर्वमाओवादी नेता रायमाझीले साढे आठ वर्षसम्म महाधिवेशन नगरेको पार्टी कसरी वैधानिक हुनसक्छ भनेर आफूहरूको प्रश्न रहेको बताए । उनले महाधिवेशन नगरेर पटकपटक केन्द्रीय कमिटी विघटन र हेरफेरि गरिनु पनि अवैधानिक रहेको तर्क गरे । उनले राजनीतिक दल सबैको सरोकारको विषय हुने भन्दै आफूहरू झन् सरोकारवाला रहेकैले माओवादीको वैधानिकतामाथि प्रश्न उठाएको दाबी गरे । ‘पार्टीमा रहँदा पनि त्यस विषयमा नबोलेको होइन तर प्रचण्डजी एक जना नेताले पार्टीलाई मनपरी ढंगले चलाउँदै आउनुभयो,’ उनले भने, ‘राष्ट्रिय र सार्वजनिक सरोकारका विषयलाई सामान्य मानिसले उठाउन पाउँछन् । त्यसको निरूपण सम्बन्धित निकायले गर्नुपर्छ ।’ उनले वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्न नमिल्ने र आफूहरूमाथि भएको कारबाहीले वैधता पाउन नसक्ने दाबी गरे ।
सर्वोच्च अदालतको आदेशबाट फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रबाट संघीय
संसद्मा निर्वाचित रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र चन्द्रबहादुर
खड्का एमालेमा लागेका थिए । त्यसपछि उनीहरूको सांसद पद नरहने गरी माओवादीले कारबाही गरेको थियो । साढे ३ महिनाअघिको उक्त कारबाहीविरुद्ध उनीहरू जुर्मराएका हुन् । यसअघि राजनीतिक रूपमै एमालेमा लागिसकेकाले उनीहरू माओवादीले गरेको कारबाहीलाई स्वीकार गरेर बसेका थिए । सांसद नरहेकाले मन्त्री पदसमेत गुमेका बेला एमालेभित्रैका दुई पक्षबीच संवादले गति लिन थालेपछि उनीहरू अस्तित्वको खोजीमा जुटेका हुन् ।
माओवादी नेता पोखरेल २०६९ सालमा हेटौंडामा भएको पार्टीको महाधिवेशनपछि २०७१ सालमा राष्ट्रिय सम्मेलन गरिएको बताउँछन् । महाधिवेशनप्रति उत्तरदायी भएर नेतृत्व, विधान, प्रतिवेदन, कार्यदिशा र कार्यक्रमको फेरबदल राष्ट्रिय सम्मेलनले गर्न पाउने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको उनले तर्क गरे । तर पूर्वमाओवादी नेताले पार्टीको विधानले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको अधिकार नदिएको तर्क गरेका छन् । २०७३ सालमा रामबहादुर थापाकै नेकपा (क्रान्तिकारी) सहित विभिन्न दलसँगको एकीकरणपछि एकीकृत माओवादी केन्द्र विघटन भएर नेकपा (माओवादी केन्द्र) बनेको थियो । अरू दलसँग एकीकरण भएपछि माओवादीले नयाँ दलकै रूप ग्रहण गरेकाले महाधिवेशनलाई ५ वर्षको समय रहने पोखरेलले तर्क गरे । तर, पूर्वमाओवादी नेता रायमाझीले आयोगमा दर्ता नै रहेका दलसँग एकीकरण गरेर कानुनले दिएको सुविधा प्रयोग गर्न नमिल्ने बताउँछन् । ‘२०६९ सालमा महाधिवेशन भएकाले अर्को महाधिवेशनको तयारी २०७४ साललाई थियो, त्यहीबीचमा विभिन्न पार्टीसँग एकीकरण भएपछि महाधिवेशन भएन,’ नेता पोखरेलले भने, ‘त्यही बीचमा २०७५ मा एमालेसँग एकीकरण हुन पुग्यो । त्यसअनुसार २०८० मा महाधिवेशन गर्नुपर्ने हो । पार्टीको लक्ष्य त्यही छ ।’ उनले विधि विधानअनुसारै चलेको पार्टीविरुद्ध संविधान र कानुनले दिँदै नदिएको राजनीतिक दल दर्ता खारेजीको कुरा उठाउनुले पार्टीमाथि प्रतिबन्ध लगाउने खेल त सुरु भएको होइन भन्ने प्रश्न उब्जिएको बताए ।

समाचार

खोप लगाएका सबैजसोमा ‘एन्टिबडी’ तयार

- अतुल मिश्र

(काठमाडौं) - कोभिड–१९ विरुद्घ खोप लगाएका व्यक्तिहरूको शरीरमा सुरक्षास्तर विकासबारे विस्तृत अध्ययन नभए पनि खोप जीवनरक्षक सावित भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा खोप लगाएका व्यक्तिहरूमा एन्टिबडी तयार भएको र त्यसले भाइरसविरुद्ध लड्न बल पुर्‍याएको पाइएको छ । प्रयोगशालाले खोप लगाएका करिब ७० जना आफ्नै कर्मचारीको एन्टिबडी परीक्षण गरेको थियो ।
प्रयोगशालाकी निर्देशक डा. रुना झाले खोप लगाएपछि बनेको एन्टिबडी कहिलेसम्म रहनेबारे अध्ययन हुन बाँकी रहेको बताइन् । ‘कम मात्रामा यस्तो परीक्षण भए पनि खोप लगाएका सबैजसोमा एन्टिबडी बनेको पाइयो तर त्यो कहिलेसम्म रहन्छ भन्नेबारे थप परीक्षण भएको छैन,’ उनले भनिन्, ‘अहिले परीक्षण गरिएकाहरूको एन्टिबडीको अवस्था ६ महिनापछि फेरि हेर्छौं ।’
कोभिड संक्रमण भइसकेका कर्मचारीमा पहिलो मात्रा खोप लगाएपछि नै राम्रो स्तरमा एन्टिबडी बनेको थियो तर पहिले प्राकृतिक रूपमै संक्रमण नभएकामा भने दोस्रो मात्रा लगाएपछि मात्र एन्टिबडी राम्रोसँग बनेको डा. झाले बताइन् । खोप लगाएपछि बन्ने एन्टिबडीबारे बृहत् वैज्ञानिक अध्ययन आवश्यक देखिएको छ । ‘खोप लगाएका जनसंख्यामा कोभिडविरुद्घ कति समयसम्म सुरक्षा हुन्छ, अध्ययन आवश्यक छ,’ वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. राजेन्द्र बीसीले भने, ‘यसले हाम्रा लागि कुन खोप उपयुक्त छ, यसको सुरक्षास्तर कहिलेसम्म रहन्छ, थप मात्राहरू कतिको आवश्यक छ भन्ने जानकारी पाउन सकिन्छ ।’
सामान्यतः शरीरमा सुरक्षात्मकस्तरको एन्टिबडी कोभिडविरुद्घको पूर्ण मात्रा खोप लिएको दुई सातापछि विकसित हुन्छ । नेपालमा कोभिडको पूरै मात्रा खोप लगाएका व्यक्तिमा एन्टिबडी बनेकाले संक्रमणबाट मृत्यु हुने संख्या कम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । आवर वर्ड इनको तथ्यांकअनुसार सार्क मुलुकमा भुटानले कोभिडविरुद्घ सबैभन्दा बढी जनसंख्यालाई खोप लगाएको छ । भुटानले हालसम्म ६२.९० प्रतिशत जनसंख्यालाई खोप लगाएको छ । हालसम्म भुटानमा २ हजार २ सय ५२ जना संक्रमित भएकामा एक जनाको मात्र मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले कोभिडविरुद्घ खोप लगाएका र नलगाएकाहरूको शरीरमा प्रोटेक्सन लेभेल (सुरक्षास्तर) कस्तो छ भन्नेबारे ‘सेरो सर्भिलेन्स’ अध्ययन सुरु गरेको जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको उक्त अध्ययनका लागि दुई–तीन महिना लाग्ने जनाउँदै डा.पोख्रेलले भने, ‘यसबाट खोपको प्रभावकारिताबारेसमेत जानकारी पाउन सकिन्छ ।’
कोभिडविरुद्घ खोप लगाएका कतिपय व्यक्तिको शरीरमा प्रतिरोधक क्षमता कम भए पनि रोगविरुद्घ लड्न नसक्ने भन्न हतार हुने विज्ञको भनाइ छ । कोभिडसँग लड्ने क्षमताबारे जानकारी कोषको मेमोरी सेलमा हुन्छ । ‘यो बनाउन सके खोप लगाएपछि शरीरमा एन्टिबडी नदेखिए पनि मेमोरी सेलमा भएको सूचनाले गर्दा शरीरले चाहिएका बेला रोग प्रतिरोधक क्षमता निर्माण गर्न सक्छ,’ डा. बीसीले भने, ‘कसैकसैको शरीरले देखाएरै ६ महिना वा योभन्दा धेरै समयसम्म एन्टिबडी राख्न सक्छ तर कसैकसैको शरीरमा एक–दुई महिनापछि नै एन्टिबडी नदेखिन सक्छ ।’

समाचार

२२३९ संक्रमित थपिए, २० को मृत्यु

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पछिल्लो २४ घण्टामा ११ हजार ३ सय १३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २० जनाको मृत्यु र १ हजार ३ सय १६ जना निको भएका छन् । हाल सक्रिय संक्रमित २६ हजार ५ सय ९० अर्थात् ४.०७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ 'मन्त्रिपरिषद् विस्तार संविधानबमोजिम’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– संविधानले दिएको पदीय भूमिका निर्वाह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसअनुसार मन्त्रिपरिषद् विस्तार गरेको जवाफ राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई दिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा बदर गर्न पनि माग गरेको छ ।
प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटका सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा शुक्रबार जवाफ पेस गरेको हो । राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले सर्वोच्चलाई पठाएको जवाफमा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा
मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ । संविधानको धारा ६६ (२) मा राष्ट्रपतिले
आफ्नो अधिकार र कर्तव्यको पालना गर्दा कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ भन्ने व्यवस्था रहेको जवाफमा उल्लेख गरिएको छ ।
राष्ट्रपति कार्यालयले संविधान र संघीय कानुनबमोजिम कार्यसम्पादन गर्दा राष्ट्रपतिविरुद्ध मुद्दा नचलाइने स्मरण पनि सर्वोच्च अदालतलाई गराएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनमा ‘राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा
आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीको विषयमा निज पदमा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर मुद्दा नचलाइने’ व्यवस्था रहेको उल्लेख गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले पदीय जिम्मेवारी पूरा गरेको र त्यसको जानकारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको उल्लेख छ । त्यस्तो कार्य गर्दैमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिट बदर गर्नुपर्ने तर्क जवाफमा गरिएको छ ।

 

Page 4
समाचार

स्थानीय तहले अझै बजेट ल्याएनन्

- नगेन्द्र अधिकारी

(काभ्रे) - असार अन्तिम साता लागिसक्दा पनि जिल्लाका केही स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार असार १० भित्रै राजस्व र आय–व्यय (बजेट) को अनुमान पेस गर्नुपर्ने भए पनि हालसम्म नीति तथा कार्यक्रम मात्रै पेस गरेका छन् ।
चालु आर्थिक वर्षका योजनाहरूको भुक्तानी भइरहेको र स्रोतको अनुमान गर्न नसकिएको कारण देखाउँदै स्थानीय तहहरूले बजेट ल्याउन आलटाल गरिरहेका हुन् । बजेट अंक मात्रै प्रस्तुत गरेका केही स्थानीय तहले योजनागत रूपमा बजेट टुंग्याउन सकेका छैनन् । समयसीमा नगुजार्न केही स्थानीय तहले अंक मात्रै तय गरेर असार १० मा आगामी आवको बजेट सार्वजनिक गरेका थिए ।
नीति तथा कार्यक्रम मात्रै पेस गरेको चौरीदेउराली गाउँपालिकाले बजेट अंकसमेत पेस गरेको छैन । प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बजेट पेस नभइसकेको भन्दै कार्यपालिका छलफलको क्रममा रहेको बताए । ‘चालु आवको खर्च यकिन भइसकेको छैन, कति पैसा बाँकी हुने थाहा भएपछि मात्रै बजेट टुंगो लाग्छ,’ कार्यपालिका सदस्यसमेत रहेका वडा–४ का अध्यक्ष सुरेश लामाले भने, ‘वडालाई ४० लाख बजेट मात्रै छुट्याउने कुरामा पनि हाम्रो सहमति छैन ।’
भुम्लु गाउँपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै पेस गरे पनि बजेट यकिन गरेको छैन । गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ छलफलको क्रममा रहेको बताउँछिन् । ‘५२ करोड अनुमान गरे पनि चालु आवको खर्च यकिन भइनसकेकोले अन्तिम रूप दिएका छैनौं,’ उनले भनिन्, ‘आज (शुक्रबार) छलफल गरी अन्तिम रूप दिएर पारित गर्छौं ।’
स्थानीय सरकार सञ्चालन ऐनमा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आवको बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र सभामा पेस गर्नुपर्ने उल्लेख छ । तोकिएको अवधिभित्र पेस नभए संघीय सरकारले अनुदान रोक्का गर्न सक्ने प्रावधान छ ।
बजेट अंक मात्रै प्रस्तुत गरेका स्थानीय तहले योजनाहरू भने बाँडफाँट हुने बाँकी रहेको बताए । मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले असार १० मा बजेट पारित भए पनि योजनागत रूपमा विनियोजन भने नगरेको बताए । बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले वडागत रूपमा योजनाहरू नआएका कारण ढिला भएको स्वीकार्दै यही महिनाभित्र पारित गर्ने बताए । खानीखोला गाउँपालिकामा पनि बजेट अंक प्रस्तुत भएको तर पारित हुन बाँकी छ । नमोबुद्ध नगरपालिकाले असार २८ का लागि नगरसभा बोलाएको छ ।
जिल्लाका धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र महाभारत गाउँपालिकाले आगामी आवका लागि बजेट पारित भइसकेको जनाएका छन् । तेमाल गाउँपालिकाको नवौं सभामा नीति तथा कार्यक्रम पारित भए पनि एमाले र माओवादी केन्द्रका तर्फबाट निर्वाचित गाउँसभा सदस्य उपस्थित नभएपछि जेठ १३ र १५ का लागि अर्को बैठक बेलाइएको थियो । दुई पटक अनुपस्थित भएपछि तेस्रो पटकको बैठकमा २५ प्रतिशत उपस्थितिका आधारमा बजेट पारित गरिएको थियो । ४८ सदस्य रहेको गाउँसभामा अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसका २० जना मात्रै सदस्य छन् ।

 

समाचार

बाढीपहिरोपीडित एक महिनादेखि जंगलमा

- केदार शिवाकोटी

(दोलखा) - बाढीपहिरोले घरमा क्षति गरेपछि
भागेर ज्यान जोगाएकी ६ महिनाकी सुत्केरी रूपी थामी प्लास्टिकले बारेको टहरामा रात कटाइरहेकी छन् । पछिल्लो एक महिनादेखि ६ सन्तानलाई कसरी जोगाउने भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ । ‘घट्टे खोलाको बाढीले घरमा क्षति गर्‍यो,’ थामीले भनिन्, ‘खोलाले आसपासको क्षेत्र कटान गरेको छ । माथि र तल दुवैतर्फ पहिराले गाउँ घेरेको छ । गाउँमा त्रास छ ।’
असारयताकै बाढीपहिरोका कारण कालिञ्चोक गाउँपालिका–५ लापिलाङका सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । जसमध्ये २२ परिवारको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो । अन्य ८० परिवारले पहिराले गाउँ घेरिएपछि घर छाडेका छन् । विस्थापित स्थानीय जंगल, विद्यालय र सामुदायिक भवनमा रात काटिरहेका छन् । पहिराले विस्थापित धनमान थामी परिवार लिएर जंगलमा टहरा बनाएर बसिरहेका छन् । ‘गाउँमा बाढीपहिरो पस्यो, परिवारका सबै जना माथिको जंगलमा बसिरहेका छौं । बालबच्चा, बूढापाका र सुत्केरीलाई सकस छ,’ उनले भने, ‘यत्रो समयदेखि जंगलमा बास हुँदा पनि कसैले हेरेको छैन । बाढीले घर बगायो कि भनेर सबेरै हेर्न तल गाउँ झर्छु ।’
घट्टे खोलाको बाढीसहितको लेदो लापिलाङका धेरै घरमा पसेको थियो । सयौं रोपनी खेत बगाएको छ । खोलाले गहिरो कटान गर्दा बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । स्थानीय दिनभर गाउँमा बस्ने गरे पनि रात परेपछि जंगलतर्फ जाने गरेका छन् । लापिलाङभन्दा माथिल्लो क्षेत्रमा दुइटा भीषण पहिरो झरेको कालिञ्चोक–५ का वडाध्यक्ष सुवास थामीले बताए । उक्त पहिरोको
लेदो घट्टे खोलाको बाढीसँगै बस्तीमा पसेको उनले जनाए । ‘घट्टे खोलाको बाढीले कटान गर्दार् गाउँ नै सक्न लागिसक्यो,’ उनले भने । उनका अनुसार खोलाले गाउँ ओहोरदोहोर गर्ने फड्के र साना पुलसमेत बगाएको छ । अहिले स्थानीय जोखिम मोलेरै बाढी र पहिरो गएको स्थानबाटै आउजाउ गरिरहेका छन् ।
असार पहिलो साता घट्टे खोलाको बाढी गाउँ पसेपछि मध्यरातमा भागेर ज्यान जोगाएको ८० वर्षीया धनकुमारी थामीले सुनाइन् । ‘अहिलेसम्म यस्तो विपत्ति देखेको थिइनँ, बाँच्नका लागि भाग्नै पर्‍यो,’ जंगलमा गोठ बनाएर बसिरहेकी धनकुमारीले भनिन्, ‘अहिले गाउँसम्म आउजाउ गर्न साह्रै गाह्रो छ । फड्केसमेत छैन ।’
गत वर्ष पहिरोले ९ घर बगाएको यो ठाउँमा यसपालि सयभन्दा बढी घर पहिरो र बाढीको चपेटामा परेको गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए । सबै स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए । संघीय र प्रदेश सरकारले कुनै सुनुवाइ नगर्दा विस्थापित हुनेको संख्या बढ्दै गएको उनको भनाइ छ । ‘गत वर्ष बाढी र पहिरोको चपेटामा परेपछि गाउँ नै सुरक्षित स्थानमा सार्ने भनेर अनुगमनमा संघीय र प्रदेशमन्त्री आए,’ उनले भने, ‘कतैबाट कार्यान्वयन भएन, अवस्था जटिल बन्दै गयो ।’
बस्ती स्थानान्तरण गर्न स्थानीय सरकारको बलबुताले नभ्याउने उनले बताए । हाल अधिकांश विस्थापित परिवार जंगलमा गोठ बनाएर सरिरहेका छन् । कतिपय परिवार भने पहिरोमै रात काट्ने गरेका छन् । प्लास्टिकले बारेको टहरामा पानी चुहिएर चिसो लाग्दा बालबालिकाहरू बिरामी परिरहेको उत्तमकुमारी थामीले बताइन् । विस्थापित भएकाहरूलाई शौचालय र खानेपानीको समेत सुविधा छैन ।
बाढीपहिरो गएको क्षेत्रमा स्थलगत अध्ययनका लागि टोली परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी वासुदेव पाठकले बताए । ‘सबैको लगत संकलन गरेर उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी थालिएको छ,’ उनले भने ।

समाचार

भर्‍याङ चढेर पुल वारपार

- कान्तिपुर संवाददाता

सिन्धुली (कास)– पुलबाटै वाग्मती नदी वारपार गरिन् तर उनलाई पुलसम्म पुग्न भने भर्‍याङ चढ्नुपर्‍यो । ‘वाग्मती नदीमा बाढी आएको छ,’ मकवानपुरको वाग्मती गाउँपालिका–४ की आशा थिङले भनिन्, ‘पुल त बन्यो तर वारपार गर्न भर्‍याङ चढ्ने र ओर्लने गर्नुपर्छ ।’ मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको वाग्मती–४ जोड्ने पुल निर्माण सुरु भएको १० वर्ष भइसक्दा पनि अझै पूरा भइसकेको छैन ।
बाढीमै हेलिएर वाग्मती वारपार गर्दै आएका स्थानीय यतिखेर भर्‍याङ हुँदै पुलसम्म पुग्छन् र नदी पार गर्छन् । यहाँका धेरैजसो स्थानीयको खेती र पारिवारिक साइनो
नदी वारिपारि छ । गत वर्ष उत्पादन भएको मकै नदीमै हेलिएर भित्र्याएको स्मरण गर्दै आशाले भनिन्, ‘यसपालि पुलको भर्‍याङ अप्ठेरो हुँदा बोरामा हालेर बल्लतल्ल ल्याइयो, कहिले मोटर चल्ला र आनन्द होलाजस्तो भएको छ ।’ पुल निर्माण भएपछि अब भेलले बगाउला भन्ने पीर भने हटेको उनले सुनाइन् ।
पुल निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ । तर सवारीसाधन आउजाउ गर्न मिल्ने गरी पुलको दुवैतर्फको पहुँचमार्ग बनाइएको छैन । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार पुलको दुईतिर मुखमा दुइटा स्पान ढलान गर्न बाँकी छ । अझै तीन महिना गाडी गुड्न नसके पनि मानिस आवतजावत गर्न सक्ने बनाउने ठेकेदारले आश्वासन दिएको लामाले बताए । मदन भण्डारी लोकमार्ग पश्चिम खण्ड आयोजना कार्यालय हेटौंडाका अनुसार पुल २०६८ असार २९ मा स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।

Page 5
समाचार

अख्तयिारले थाल्यो छानबनि

- कान्तिपुर संवाददाता

(काठमाडौं) - पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको शंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अनियमितताबारे उजुरी आएपछि सुन खरिद गर्दाका मुचुल्कालगायत कागजात उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोषलाई पत्र पठाएको अख्तियार स्रोतले जानकारी दियो । कोषका सदस्यसचिव प्रदीप ढकालले
अख्तियारले पत्र पठाएको स्वीकार गरे । ‘यो दुई कार्यालयबीचको मामिला हो । धेरै कुरा गर्न मिल्दैन,’ उनले भने, ‘अख्तियारले मागेका विवरण बुझाउने तयारी गरिरहेका छौं ।’
स्थानीय र सरोकारवालाको विवाद हुँदाहुँदै कोषले गत वर्ष शिवरात्रिमा सुनको जलहरी राखेको थियो । २०७० मै कोषले जलहरी राख्ने निर्णय गरे पनि विवाद उत्पन्न भएपछि काम अघि बढेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ ११ गते पशुपतिनाथ दर्शन गर्न जाँदा तत्काल ३० करोड रुपैयाँ सरकारले उपलब्ध गराउने बताएपछि प्रक्रिया अघि बढेको थियो । प्रधानमन्त्रीले वचन दिएको पर्सिपल्टै कोष सञ्चालक परिषद्को बैठकले काम अघि बढाउने निर्णय गरेको थियो । सदस्यसचिव ढकालका अनुसार जलहरी राख्न ८० करोड रुपैयाँ खर्च भएको छ ।
कोषले १ सय ८ किलो राखेको भने पनि ९७ किलो मात्र राखेको मन्दिरका एक भण्डारीले दाबी गरेका छन् । जलहरी राख्दाराख्दै अदालतको आदेश आएकाले केही काम रोकिएको ढकालको भनाइ छ । अन्तरिम आदेश दिएकै दिन जलहरी राखिएको थियो ।
वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्चमा छुट्टाछुट्टै रिट दिएका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी राख्ने काम रोकेर १५ दिनभित्रमा जलहरी राख्नुपर्ने कारण पेस गर्न आदेश दिएको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक प्रधानमन्त्री ओली, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, कोषका सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापालाई विपक्षी बनाइएको छ । उक्त मुद्दाको किनारा भने लागेको छैन ।
‘जलहरीमा किला ठोकेर मिलाउन बाँकी छ,’ उनले भने, ‘अख्तियारले जलहरी उप्कायो भनेर बाहिर हल्ला भएको छ । त्यस्तो होइन ।’ मन्दिरको ज्योतिर्लिङ्ग भट्टले बाहेक अरूले छुन पाउँदैनन् । ढकालका अनुसार ४ जना भट्टले जलहरी जोडेका थिए । ज्योतिर्लिङ्गमा ५ वटा मुख भएकाले सुनका पातालाई ५ टुक्रा बनाएर जोडिएको ढकालले बताए ।

समाचार

पर्यटकलाई असार मसान्तसम्म भिसा शुल्क छुट

- कान्तिपुर संवाददाता

(काठमाडौं) - कोरोना महामारीका कारण स्वदेश फर्किन नपाएका विदेशी नागरिकलाई असार मसान्तसम्म लाग्ने पर्यटक भिसा शुल्क र जरिवाना छुट गरिएको छ । २०७८ वैशाख १५ सम्म भिसा नियमित गरेर पनि निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडान बन्दसँगै रोकिएका विदेशीले तिर्नुपर्ने दैनिक ३ अमेरिकी डलर बराबरको भिसा शुल्क र त्यस अवधिमा भिसा नियमित नहुँदा तिर्नुपर्ने जरिवानाबापतको दैनिक ५ डलर मिनाहा गरिएको हो ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार यो सुविधा वैशाख १५ अघिसम्म भिसा नियमित नगरेर ओभरस्टे भएका, प्रचलित कानुनको उल्लंघन गरेका र असार ३१ पछि पनि नेपालमै बस्न चाहेका विदेशीलाई भने लागू हुनेछैन । ‘अन्तर्राष्ट्रिय उडानहरूको सीमित उपलब्धतालाई मध्यनजर गर्दै नेपालबाट प्रस्थान हुने विदेशीको भिसा शुल्क छुटका लागि वैशाख १५ सम्म नेपालको वैध भिसा भएका र असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजहरूको प्रस्थानको समयमा नै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क भिसा नियमित गरिने’ विभागको निर्णयमा भनिएको छ । महानिर्देशक भट्टराईले सामान्य अवस्थामा नेपालबाट दैनिक २ हजार हाराहारीमा पर्यटक फर्किने गरेकोमा महामारीका कारण यो चाप निकै कम भएको बताए । उनका अनुसार विदेशी नागरिक र केही कूटनीतिक नियोगबाट महामारीका बेलाको भिसा छुटका लागि आग्रह गरिएको छ ।
नेपालबाट सामान्य अवस्थामा दैनिक अन्तर्राष्ट्रिय उडान ८० वटा हुने गरेकोमा महामारीका बेला चार्टर्ड फ्लाइट र पछिल्लो समय सीमित गन्तव्यका लागि मात्र उडान खुला छ । पछिल्लो पटक असार २१ को मन्त्रिपरिषद् बैठकले सबै अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय लिएको थियो । तर, उडान सहज नभएको भन्दै अझै एक सातासम्म स्वदेश फर्किन चाहेका विदेशी पर्यटकलाई शुल्क र जरिवानामा छुट दिइएको विभागले जनाएको छ ।
यसैगरी, विभागले एक वर्षमा विदेशी पर्यटकका लागि १ सय ५० दिनसम्मको भिसा जारी गर्न पाउने भए पनि निषेधाज्ञा अवधिको ६० दिनलाई समेत जोडेर भिसा पाउने अवधि यो वर्ष २ सय १० दिन गणना गरेको छ । साउन १ बाट भिसा लिने विदेशीको हकमा भने पूर्ववत् व्यवस्था १ सय ५० दिन नै कायम हुनेछ ।
सरकारले आगामी असोजबाट हस्तलिखित भिसा विस्थापन गर्नेगरी देशभरका अध्यागमन कार्यालयमार्फत कम्प्युटर प्रणाली सिर्जित क्यूआर कोडसहितको भिसा जारी गर्न उपकरण खरिद र प्रविधि व्यवस्थापन प्रक्रिया अघि बढाएको छ । २०३२ सालमा ‘विदेशीसम्बन्धी नियमावली’ जारी भएसँगै हस्तलिखित भिसा प्रयोगमा आएको थियो । ४६ वर्षपछि सरकारले हस्तलिखित भिसा प्रणालीबाट प्रविधिमा फड्को मारेको हो ।
गत असार १५ बाटै अध्यागमन विभागले नयाँ प्रविधिसहितको भिसा जारी गर्न थालेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न जिल्लाका अध्यागमन कार्यालयलाई २/२ थान प्रिन्टर र आवश्यक मात्रामा खाली स्टिकर किन्न विभागले खरिद प्रक्रिया अघि बढाएको छ । प्रत्येकमा होलोग्रामसहित एउटा रोलमा १ हजार थान खाली स्टिकर रहने गरी ‘भिसा स्टिकर ह्वाइटपेपर’ किन्न लागिएको विभागले जनाएको छ । यो प्रविधि प्रयोगमा आएपछि भिसावाहक विदेशीको सबै विवरण क्यूआर कोडमा समावेश गरिनेछ । विभागबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य १३ स्थानमा अध्यागमन कार्यालय छन् । विदेशस्थित ३९ कूटनीतिक नियोगबाट पनि भिसा जारी गरिँदै आएको छ ।
हस्तलिखित भिसा जारी हुँदा आर्थिक हिसाबकिताब पारदर्शी नभएको सम्बन्धमा विदेशस्थित नेपाली नियोगका अधिकारीमाथि आर्थिक अपचलनको आरोपसमेत लाग्ने गरेको छ । ‘अब विदेश वा नेपाल, जहाँबाट विदेशीले भिसा लिए पनि त्यसको ‘रियल टाइम रेभेन्यु रिपोर्ट’ विभागबाट जुनसुकै बेला हेर्न सकिन्छ,’ महानिर्देशक भट्टराईले भने, ‘कहाँबाट कति भिसा जारी भयो, कति
आर्थिक कारोबार भयो भनेर विभागकै सफ्टवेयरले स्पष्ट रूपमा देखाउँछ, कसैले पनि प्रविधिलाई
ढाँट्न सक्तैन ।’
उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले असार १४ गते सिस्टम जेनेरेटेड प्रिन्टेड भिसा विथ क्यूआर कोडअनुसारको भिसा पोर्चुगलका नागरिक तेञ्जिङ नुर्बु लामालाई हस्तान्तरण गरी यो सेवा शुभारम्भ गरेका थिए । नयाँ भिसामा रहने होलोग्राममा नेपालको नक्सासहितको वाटरमार्क एवं क्यूआर कोडमा वैयक्तिक विवरण रहनेछ ।

समाचार

पखालाले एकको मृत्यु, २५ बिरामी

- कान्तिपुर संवाददाता


राजविराज (कास)– टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने समस्याले सप्तरीमा एक जनाको मृत्यु भएको छ । यस्तै लक्षण भएका दुई टोलका २५ जना बिरामी छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । सप्तरीको महदेवा गाउँपालिका–२ चकलाकी ४० वर्षीया सीतादेवी रजकको मृत्यु भएको हो ।
टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने भएपछि उनलाई परिवारले बिहीबार साँझ उपचारार्थ राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेका थिए । रजकको राति साढे ९ बजे मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जितकुमार झाले बताए । उनका अनुसार फुड प्वाइजनिङ भई पखाला लागेको हुन सक्ने अनुमान गरिए पनि ज्वरोसमेत देखिएकाले कारणबारे परीक्षण भइरहेको छ । उस्तै लक्षण भएका कारण मृतककै परिवारका २० वर्षीय राजेश रजक, १८ वर्षीय कञ्चन र १२ वर्षीय रञ्जितलाई पनि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूलाई धरान रेफर गरिएको छ ।
यस्तै, महदेवा–२ चकला टोलसँगै जोडिएको तिलाठी कोइलाडी–८ तोपाको उतर टोलमा पनि यस्तै लक्षणका २१ जना बिरामी छन् । किसन साह, फेकु शर्मा, शिवराम मण्डल, पशुपति मण्डल, रामनाथ मण्डल, छ्तुहरू मण्डल, बिसुन मण्डल, सुन्दर मण्डललगायतकाको परिवारका सदस्यलाई टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएको स्थानीय सत्यनारायण यादवले बताए । तीमध्ये भर्ना हुन आएका ८ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रेफर गरिएको गजेन्द्रनारायण अस्पतालले जनाएको छ । अस्पताल नगएकाको स्थानीय मेडिकल र घरमै स्लाइन लगाएर उपचार भइरहेको छ ।
महदेवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित यादवका अनुसार शुक्रबार स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा पुगेको छ । आफन्तको घरबाट आएको कोसेली खाएपछि बिरामी भए पनि मुख्य कारण यकिन हुन नसकेको यादवले बताए । तिलाठी कोइलाडीका स्वास्थ्य शाखा प्रमुख शैलेशकुमार मिश्रका अनुसार प्रारम्भिक जानकारी अनुसार छिमेकीको रोपाइँमा गएकामध्ये भुजा र केराउ खाएका केही बिरामी परेको खुलेको छ । स्वास्थ्यकर्मीको टोली पुगेर बिरामी थपिँदै जानुको कारण पत्ता लगाउन परीक्षण गरिरहेको मिश्रले जनाए ।

समाचार

सोलु करिडोरमा स्थानीयको अवरोध

- कान्तिपुर संवाददाता

उदयपुर (कास)– सोलु करिडोरले दिने मुआब्जा चित्तबुझ्दो नभएको भन्दै स्थानीयले बिहीबार कटारी नगरपालिकाको कार्यालयमा ताला लगाएका छन् । सोलु करिडोर विद्युत् प्रसारण लाइन विस्तार हुने क्षेत्रमा पर्ने ऐलानी र नम्बरी दुवै जग्गाको मुआब्जा नगरपालिकाले सिफारिस गरेअनुसारकै हुनुपर्ने स्थानीयको माग छ ।
प्रसारण लाइन विस्तार हुने कटारी–४ मरुवाका बासिन्दाले प्रसारण लाइनको रुट नै परिवर्तन गर्नुपर्ने र त्यसो गर्दा नगरपालिकाले सिफारिस गरेअनुसारको क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । नगरपालिको प्रतिकट्ठा ५० लाख रुपैयाँका दरले मुआब्जा सिफारिस गरेको छ । स्थानीयको अवरोधपछि मन्त्रिपरिषद्ले ऐलानी जग्गाको समेत मुआब्जा दिने निर्णय गरेको छ । तर मरुवा क्षेत्रका बासिन्दाले नमानेपछि दुई दिनयता प्रशासनले बल प्रयोग गरेर भए पनि काम अगाडि बढाउने प्रयास गरिरहेको छ ।
अवरोध भएको काम अघि बढाउन प्रशासनले त्यस क्षेत्रमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको छ । मन्त्रिपरिषद्ले गत मंसिर २५ मा सोलु करिडोरअन्तर्गत कटारीको नगरपालिका खण्डमा पर्ने ऐलानी जग्गाको मुआब्जा दिने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्को निर्णयपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्धारण गरेको मुआब्जा ऐलानी र नम्बरी जग्गाको फरकफरक भएको तालबन्दी गर्नेमध्येका स्थानीय घमण्डबहादुर खत्रीले बताए । पहिलो, प्रसारण लाइनको रुट परिवर्तन हुनुपर्ने, त्यसो नभए नगरपालिकाले सिफारिस गरेबमोजिम मुआब्जा ऐलानी र नम्बरी दुवैले एकै समयमा पाउनुपर्ने माग रहेको उनको भनाइ छ । पछिल्लो पटक निर्धारण गरिएको मुआब्जामा ऐलानीमा प्रतिकट्ठा १९ लाख ९५ हजार छ, नम्बरीमा त्योभन्दा कम कायम गरिएको छ ।
स्थानीयले मुआब्जा कम भएको भन्ने गुनासो जायज भएको नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ । ‘माग जायज छ,’ श्रेष्ठले भने, ‘उचित मुआब्जा दिएर समस्याको समाधान गर्नुपर्छ ।’ तालबन्दीले नगरपालिकाको काम प्रभावित भएको उनले बताए । अढाई वर्षयता कटारीको मरुवा क्षेत्रमा स्थानीयले १० वटा टावर गाड्न रोकेका छन् । मरुवा क्षेत्रको ऐलानी जग्गाको पनि मुआब्जा दिइएको नगरप्रमुख श्रेष्ठले बताए । ‘अन्यत्र ऐलानी जग्गाको क्षतिपूर्ति दिइएको छैन,’ उनले भने, ‘यहाँ दिनु धेरै राम्रो कुरा हो तर सोचेजस्तो नपाएकाले समस्या भएको हो ।’

समाचार

कांग्रेसमा संस्थापनइतर एउटै उम्मेदवार बनाउने प्रयत्न

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– पार्टी सभापतिको प्रतिस्पर्धाका लागि कांग्रेसको संस्थापनइतर खेमाबाट एउटै उम्मेदवार बनाउन कसरत सुरु भएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीको संयोजनमा शुक्रबार उम्मेदवारका आकांक्षीसहित संस्थापनइतर पक्षको बैठक बसेको थियो । सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न एक जनाले मात्रै उम्मेदवार दिनुपर्नेमा आकांक्षीहरूबीच सहमति भए पनि कसले कसलाई छाड्ने भन्नेमा समझदारी हुन सकेको छैन ।
इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला र शेखर कोइराला आकांक्षी देखिएका छन् । नेता केसीले समझदारी जुटाउन प्रारम्भिक छलफल भएको बताए । ‘एक मात्रै उम्मेदवार हुनुपर्छ भन्नेमा आकांक्षीबीच सैद्धान्तिक समझदारी बने पनि कसले कसलाई छाड्ने, कुन मोडालिटी र आधारमा समझदारी गर्ने भन्नेबारेमा प्रारम्भिक छलफल मात्रै भएको छ,’ उनले भने, ‘जिल्ला सभापतिलगायत प्रतिनिधि साथीहरूको सल्लाहअनुसार हामी एउटै उम्मेदवार उठाउने प्रयत्न गर्छौं ।’ संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिमा दाबी गरेका छन् ।

Page 6
शनिबार विशेष

मिसरी : कोरोनाकालीन झ्यालबाट हेर्दा

- दीपक सापकोटा

 

गोविन्दबहादुर मल्ल ‘गोठाले’ (१९७९ असार २६–२०६७ मंसिर २७) को बहुचर्चित क्लासिक हो– ‘पल्लो घरको झ्याल’ । उक्त किताबको प्रमुख पात्र मिसरीमाथि युगकवि सिद्धिचरण श्रेष्ठले लेखेका छन्, ‘मिसरी एउटा मुखियाकी स्वास्नी, एउटा घरकी छोरी र अर्को घरकी बुहारी मात्र होइन, ऊ युगको एक उपज, लामो इतिहासको एक निचोड पनि हो ।’ ‘कोसेली क्लासिक’ मा यस पटक गोठालेको जन्म–दिवस (असार–२६) को सन्दर्भमा मिसरी–मीमांसा गरिएको छ ः

 

एकै झिम्कामा सपनामा हराएझैं मिसरी घरबाट बाहिर निस्किसकेकी थिई ।’
म गोविन्दबहादुर मल्ल गोठालेको उपन्यास ‘पल्लो घरको झ्याल’ को अन्तिम पृष्ठ. (११०) मा छु– एक साँझ गोल्सनले मिसरीको लुगाको पोका बोकेकी छे । मिसरीले बेहोसीमै जुत्ता लगाएकी छे । गोल्सनले उसको हात समातेर तानेकी छे । मिसरी माइतीको छिँडीमा पुगिसकेकी छे । ‘डराउनुपर्दैन म छु’, गोल्सनले भनेकी छे ।
म बनेपामा छु । असारको रापिलो घाम, कागतीको बोटमाथि टक्क अड्किएको छ । तथापि, त्यसको प्रवाहमान् तेज बाढीसरि, बन्द झ्याल र
झ्यालका पर्दा छिचोलेर कोठाभरि छताछुल्ल भएको छ । त्यो प्रकाशको बाढीले मेरो वेचैन मनलाई बिथोलेर अझ उद्वेलित गराएको छ । वेचैन भएर जाने ठाउँ पनि त छैन । बाहिर, निषेधाज्ञा छ । घण्टा–घण्टामा पुलिसको ‘सचेतना’ माइकिङ घामको रापसरि बन्द झ्याल–ढोका छिचोलेर भित्रैसम्म कोकोहोलो मच्चाउँछ । सारा संसारको खुसी र आनन्द कतै सुदूर गगनमा अड्किएको छ ।
म आँखा बन्द गर्छु । मिसरीसँगै ‘गोठाले’ को ‘पल्लो घरको झ्याल’ कल्पनाकाशमा झलमल्ल उदाउँछ । त्यहीँ, चौतारीको विशालकाय पिपलको रूखझैं शीतल सम्झना बनेर गजधम्म बसिरहन्छे– मिसरीनानी । ‘झ्यालबाट’ का सम्पादक ईश्वर बरालका अनुसार, ‘पल्लो घरको झ्याल’ को प्रकाशन मिति २०१६ हो । तर, उपन्यासमा २०१८ लेखिएको छ । किताब छापिएको छ दशकपछि किन रापिलो घाममा तातिएर दिनैभर मिसरीनानीको निजी–जिन्दगीमा प्रवेश गरिरहेको छु म ?
बनेपा पुरानो बजारको नेवाः समाजमा प्रत्येक वर्ष वेल विवाह नगरिएका र रजस्वला नभएका कन्यालाई शुभको प्रतीक मानि पूजा गरिन्छ । जनश्रुति भन्छ– मानव कन्याका भेषमा हुन्छन्– देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या इत्यादि ।
लोग्ने हरिभक्तलाई छोडेर इन्द्रचोकबाट हीरामानसँग हिँडेकी मिसरी मेरो कल्पना–लोकमा बनेपा आइपुगेकी हुन्थी । कालो भुइँमा रातो किनारा भएको परम्परागत हाकुपतासीमा सजिएकी, सिउँदोमा लामो धर्को सिन्दूर हालेकी, पातला ओठमा गाढा रातो लाली पोतेकी, कपालको गुजुल्टोमा सुन्तला र सेतो रङको ६ पाते गुनकेशरी सिउरिएकी, गुनकेशरी फूलझैं मुस्कुराइरहेकी एक २० वर्षे शान्त, प्रदीप्त नेवाः युवती मिसरी पूजा–पंक्तिमा बसिरहेका हजारौं चम्किला कन्याका कपालमा तेलदानीबाट काँचो तेल खन्याइरहेकी हुन्थी । फूल–पाती–अक्षताले कन्याहरूको पूजा गरिरहेकी हुन्थी मिसरी । सायद पूजा–लाइनमा बसिरहेका सम्पूर्ण कन्याहरू आफूजस्तै ‘विद्रोही’ बनून् भन्ने चाहन्थी मिसरी ।
मैले मस्तिष्कमा मिसरी बोकेर हिँडेपछि बनेपादेखि इन्द्रचोकसम्म उसका अनेक आकृति ब्युँझिरहेका थिए । साँझको इन्द्रचोकमा घर छोड्नेबेला उसले लगाएकै जुत्ता पड्काउँदै हिँडेको मिसरीको झल्को आउन थालेको थियो । एकसुरमा हिडिँरहेका तरुनीहरू देख्दा लाग्थ्यो, कुनै बेला मिसरी यसरी नै इन्द्रचोक छेउछाउका गल्लिमा हिँडिरहेकी हुन्थी होला ।
मेरी कल्पनाकी मिसरी जहाँबाट उपन्यास सकियो, त्यही दृश्यबाट ठम्ठम् हिँड्न थाल्थी । मेरो कल्पनामा, प्रेमिसँग जाऊँ कि नजाऊँ भन्ने चरम द्वन्द्वमा बाँचिरहेकी, इन्द्रचोककी सरल नेवार युवती मिसरीका गाला लाजले हो वा भयले राता हुन्थे । साँझको सडकमा मानिसहरूको चहलपहल बिस्तारै घट्दै गएको हुन्थ्यो । पर्तिरबाट सडकमा गुडिरहेका साइकलले फ्याँकेको उज्यालो मिसरीको अनुहारमै परेको हुन्थ्यो । एक्कैछिनमा आइपुग्ने घरछेउकै मोड पनि उसलाई लामो र भयप्रद लागेको हुनुपर्छ । जीवनमा अनगन्ती पटक त्यस बाटो निस्फिक्री हिँडेकी ऊ मेरो कल्पनामा डराएकी देखिन्थी ।
हीरामानसँग पहिलोपटक बोल्दा के भनेर सम्बोधन गर्ली मिसरी ? एक्कासिजस्तो झमक्कै परेको रातमा लाजले दोब्रिएकी मिसरी एक शब्द पनि नबोली बाटोको मोडमा कुरिरहेको हीरामानको मोटरसाइकलमा चढ्थी र अलप हुन्थी । मेरो कल्पनाकाशमा तैरिरहेको मिसरीको मायावीजस्तो लाग्ने अनुहार त्यसपछि दृश्यबाटै हराउँथ्यो ।
ल ल ल
‘एक किसिमले यो किताब मिसरीको केही दिनको डायरी हो,’ युगकवि सिद्धिचरण श्रेष्ठले ‘पल्लो घरको झ्याल’ को भूमिकामा लेखेका छन्, ‘गोठाले फूललाई बाटोको शाखामा गम्केको रङले भरिएको फूलमात्र देख्दैनन्– माटो र पानीको संघर्ष, घाम र हावाले यसको कणकणमा मुसारेको कुरा आदिलाई पनि उनी बिर्सन्नन् । त्यसैले मिसरी एउटा मुखियाकी स्वास्नी, एउटा घरकी छोरी र अर्को घरकी बुहारी मात्र होइन, मिसरी युगको एक उपज, लामो इतिहासको एक निचोड पनि हो भन्ने उनी देख्छन् ।’
कोर काठमाडौंको सामाजिक मनोविज्ञान बुझाउने किताबको प्रकाशनले ६२ वर्ष प्रवेश गर्नु एउटा उत्सव हो । यो उत्सवमा गोठालेले लेखेको इन्द्रचोकवरिपरिका अन्य चोक–गल्लीतिर घुमिहिँड्नु थप रोमाञ्चक र अर्थपूर्ण हुन्छ । यसले मिसरीसँगै एक गुण्डाको दैनिकी पनि विस्तारमा बताउँछ ।
ल ल ल
पल्लो घरको झ्यालमा टुपुल्किने ‘गुण्डो’ भनिएको हीरामानसँग भागेकी छे मिसरी । खासमा मिसरीको भगाइ कुनै क्रान्तिकारीले गर्ने जेलब्रेकको कथाजस्तै साहसिक र रोमाञ्चक लाग्छ ।
जुन कालखण्डमा यो उपन्यास लेखिएको थियो, समाज अनेकौं निषेधको लहराले जेलिएको थियो । अहिले पनि समाजले खटन गरेको स्वतन्त्रताको झुलमा आफ्ना इच्छाहरू मारेर बस्नुपर्ने विरक्तलाग्दो सामाजिक अवस्था छ भने त्यतिखेरको मध्यमवर्गीय काठमाडौंली परिवारमा एउटी विवाहित बालाको अवस्था कस्तो थियो होला ? ‘हो, आफूले भोगिरहेको जीवनबाट निर्देशित भएर आफ्नो जीवन यसरी बाँच्छु भन्ने निर्णय दृढ ढंगले लिन मिसरीले सकिनन् । सायद, त्यतिखेरको सामाजिक परिवेशका कारण लेखकले पनि आफूले तयार पारेको पात्रलाई त्यस्तो अह्राउन सकेनन् होला’, कवि/आख्यानकार विप्लव प्रतीक भन्छन्, ‘तर, एक व्यक्तिका रूपमा उपन्यासकी मिसरीको मनोदशा, अवस्था र उनले भोग्नुपरेको परिवेश चित्रण वास्तवमा क्रान्तिकारी छ । नारी जहाँ गएपनि कसैको अनुकम्पामा बाँच्नुपर्ने अमानवीय पक्षबारे पुस्तक मौन छ । तर, यसबारे पुस्तक मुखरित भएको भए कथा मिश्रित हुने थियो । सायद त्यसैले लेखकले त्यस पक्षलाई पुस्तकमा प्रवेश दिएका छैनन् ।’
लेखक, सम्पादक भूषिता वशिष्ठ भने मिसरीको भगाइलाई क्रान्तिकारी मान्दिनन् । भन्छिन्, ‘सतही रूपमा मिसरीको प्रतिनायक हीरामानसँगको इंगित मिलन क्षणिक समयका निम्ति क्रान्तिकारी होला, तर मिसरी अन्ततोगत्वा अनुगामिनी नै रहेकी छ । के स्वतन्त्रताको कामना गर्ने नायिकाका निम्ति त्यही अन्तिम सोपान हो ? प्रश्न आज झनै ज्वलन्त बनेको छ ।’
आख्यानकार, चिन्तक इन्द्रबहादुर राई ‘नेपाली उपन्यासका आधारहरू’ (२०३१) किताबमा ‘पल्लो घरको झ्याल’ की मिसरीमाथि लेख्छन्, ‘फ्रायडवादले बताउँछ स्वप्नमा व्यक्तिको इच्छाको छद्मपूर्ति पाइन्छ । मिसरीको मुखमा हाँसो दिने त्यो सपना उसको माइतीबासको बिपनाहरूबाटै, विशेष अघिल्ला चौबीस घण्टाबाट बनेको स्वाप्निक तुष्टि थियो ।’
भाषा, चोखा विम्ब र साहसिक विषयवस्तुका कारण आख्यानकार नयनराज पाण्डेको स्मृतिमा यस उपन्यास सम्मानसाथ बसेको छ । ‘उपन्यासका केही दृश्य आजपर्यन्त मनबाट हट्न सकेको छैन– बिरालाले परेवा खेलाईखेलाई मारेको दृश्य र त्यसलाई हेरेर आनन्द मानिरहेकी मिसिरी’, पाण्डे भन्छन्, ‘स्याडिस्ट मिसिरीको मनोविज्ञानलाई यति बलियो विम्बमार्फत देखाउन सक्नु उपन्यासकारको सफलता हो । उपन्यास पढेको केही पछि मात्र मैले फ्रायडियन कोणबाट यो दृश्यलाई बुझेको थिएँ ।’
आख्यानकार गनेस पौडेलको बुझाइमा मिसरीको भगाइ ‘एन्टीहिरोप्रतिको यौनाकर्षण’ हो । ‘जब कुनै असन्तुष्ट व्यक्ति वा कुनै उत्पीडित व्यक्ति सामाजले कोरेको परिधिबाट निस्किन खोज्छ, उसलाई समाजले भन्ने गरेको खराब चरित्र अर्थात् गुण्डा बरु खास हिरो लाग्छ । एन्टीहिरोप्रतिको यौनाकर्षण मिसरीको यौन–मुक्तिको अवचेतन सर्त हो ।’
ल ल ल
मिसरीको जीवनमा हीरामानको प्रवेशपछि नेपाली समीक्षक/पाठकले उसलाई नैतिकता, अनैतिकता, संस्कृति, विकृति, सही, गलत, पाप, धर्मको तराजुमा लामो समय जोखिरहे । गोठालेले नेपाली साहित्यलाई दिएकी अनौठी नायिका मिसरीसँग मेरो गहिरो मानसिक सम्बन्ध गाँसिएको छ । पहिलो पटक गोठालेले रचेको मिसरीको कथा पढ्दा म केही झस्किएको थिएँ । मिसरीलाई जसरी टोलेगुण्डा हीरामानले बारबार चिठी पठाइरहन्थ्यो, त्यसैगरी म पनि एक समय कसैलाई चिठी पठाइरहन्थें । मिसरीबाट हीरामानको चिठीको कुनै जवाफ नआएझैं मेरा चिठीहरू पनि जवाफबिनै ओइलाउँथे । यसरी हीरामानकी मिसरी नजानिँदो तरिकाले मेरी आत्मीय भएकी थिई । कति जवाफहीन रात मैले मिसरीको कोमलतासँग हार खाएर कटाएको थिएँ । मिसरीसँग प्रेम गर्ने हीरामानबाहेक थुप्रै पाठक होलान्/नहोलान्, तर काठमाडौंको पुरानो घरको
झ्यालमा बसिरहने उदास, तर मोहक नेवाः नायिकाको जादू ममा अझै जीवन्त छ ।
कस्ती थिई मिसरी ? नैतिकता र अनैतिकता भन्दा पर, पाप र धर्मसँग नजोडिएको, ठीक र बेठीकभन्दा टाढा, संस्कृति र विकृतिभन्दा मास्तिर कतै कुनै चारित्रिक क्षेत्रफल छ भने मिसरीको बसोबास त्यहीँ छ । एक जना दिक्कलाग्दो पारम्परिक जीवनशैली अनि यान्त्रिक रूपले काम गर्ने पुरुषसँग विवाह गरेकी मिसरीको जीवनमा अर्को बलियो, साहसी पुरुषको प्रवेशपछि उसको मस्तिष्कमा आएका तरंगहरूको नालीबेली हो– पल्लो घरको झ्याल । वास्तवमा मिसरीको खोजी के कुराका लागि थियो ? ठ्याक्कै थाहा पाउन वा भन्न सकिँदैन । समीक्षकहरू भन्छन्, ‘यौनिक मुक्ति’ थियो उसको खोज ।
एउटा शान्त, सोझो लोग्ने छोडेर ‘गुण्डा’ सँग जानुलाई मिसरीले मुक्तिको बाटो छनोट गरेको ठान्छन् लेखक अभि सुवेदी । ‘यो कथा बुझ्न केवल यौनिक मनोविज्ञानलाई मात्र हेरेर पुग्दैन । यसमा यौनिक तृष्णा छ, तर त्यो नै यस कथाको जड होइन । कमजोर पतिसँग बस्ने कल्पनाले आत्तिएकी परम्परागत घरकी, तर संवेदनशील नेवारी युवतीले छानेको मुक्तिको बाटोलाई कथाले देखाउँछ । केटो अराजक बानी बेहोराको कदाचित् गुण्डो पनि भन्न सकिने व्यक्ति हो । त्योसँग यौन मात्र होइन, प्रतीकात्मक ढंगले भन्दा उन्मुक्तिको शृंखलाहीन, तर उत्तेजक चारित्रिक पक्ष छ । मिसरीलाई त्यस व्यक्तिको त्यही अरूभन्दा फरकपनाले आकर्षित गरेको हो ।’
गनेस पौडेललाई लाग्छ– यौनिक मुक्ति (सेक्सुअल लिवरेसन) को हिसाबले हेर्ने हो भने मिसरी नेपाली साहित्यको एकमात्र विद्रोही चरित्र हो । ‘तर, त्यसका लागि आमा बन्न नपाएको कुण्ठाको अध्यायलाई बिर्सिदिनुपर्छ । आमा बनेकै भए पनि मिसरीको मुक्तिको तृष्णा फेरिनुहुँदैन । आमा हुने चाहनालाई समातेर गोठालेले उसलाई जुन ‘पोयटिक जस्टिस’ दिने कोसिस गरेका छन्, त्यो खासमा अनावश्यक कोसिस मात्रै देखिन्छ ।’
उपन्यासकार शिवानीसिंह थारू मिसरीलाई खुब सम्झिन्छिन् । भन्छिन्, ‘१९ औं शताब्दीमा गुस्ताभ
फ्लाउबेयरले लेखेको फ्रेन्च उपन्यास मदाम बोभारीकी नायिकालाई विश्वको आख्यान साहित्यमा जसरी हेरिन्छ, नेपाली साहित्यका सन्दर्भमा मिसरीलाई त्यसरी नै हेर्न सकिएला ।’
मिसरीको बगावतले क्षणिक त्राण दिए पनि उपन्यासको पटाक्षेपमा त्रासद छ भन्छिन् भूषिता वशिष्ठ । ‘एरिकसनको मनोवैज्ञानिक चक्रको हिसाबले हेर्दा २० वर्षे मिसरी आफ्नो अस्तित्व र पहिचानको खोजीमा छ । हामी अक्सर महिला सशक्तिकरणको कुरा गर्दा संरचनात्मक दोषको कुरा गर्छौं । मिसरीको हकमा हेर्दा, कसरी उसको अस्तित्वको खोजलाई एउटा पुरुषबाट अर्को पुरुषसम्मको छलांगमा सीमित गरिएको छ, यो नै संरचनात्मक दोष हो,’ वशिष्ठ भन्छिन्, ‘अकल्पनीय कामनाका उडान भर्दा पनि, मिसरीका आकांक्षा वल्लो घरको झ्यालबाट, पल्लो घरको झ्यालसम्म मात्र पुग्ने आँट गर्छ । होला, केही क्षणका निम्ति, हीरामानलाई भेट्न जाउन्जेल उसलाई उन्मुक्तिको आभास पनि होला । तर, त्यो उन्मुक्ति आजीवन कारावास सजाय पाएको मान्छेले एउटा कैदखानाबाट अर्को कैदखाना जानुबीचको क्षणिक स्वतन्त्रताभन्दा बढी म देख्दिनँ ।’
ल ल ल
कवि माधव घिमिरेको एउटा चर्चित कविताको लाइन छ– ‘ए कहाँबाट हेरौंला संसार संझ्यालै नरहे ।’ वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले लेखेका छन्, ‘चन्द्रबहादुर जोशीले तयार पारेको काठमाडौं उपत्यकाका कलात्मक झ्यालहरू नामक पुस्तकमा कवि घिमिरे भन्छन्, ‘कुनै व्यक्तिको मनको भाव हेर्ने हो भने उसका आँखा हेरे पुग्छ, कुनै देशका निवासीको मनको भाव हेर्ने हो भने तिनका झ्याल हेरे पुग्छ । झ्याल केवल हावा खाने प्वाल मात्र होइन— यो त विचित्रतापूर्ण विश्वलाई हेर्ने कलाको कल्पना हो ।’ ‘पल्लो घरको झ्याल’ तिर चियाइरहेकी मिसरीको कथामार्फत गोठालेले काठमाडौं उपत्यकाको झ्याल संस्कृतिलाई अजम्बरी बनाइदिएका छन् ।
हुन त झ्याल काठमाडौंको एक विशिष्ट वास्तुसंस्कृति हो । नेपालका गाउँमा घरहरू जोडेर उति बनाइँदैनन्, त्यसैले एउटा घरको झ्यालबाट अर्को घरको झ्यालभित्रको दृश्य हेर्नु त्यति सम्भव हुँदैन । तर, सहरमा, गल्लीहरूमा, चोकहरूमा एक
झ्यालबाट अर्को झ्यालभित्र सहजै चियाउन सकिन्छ । त्यसैले उपन्यासको यो शीर्षक ‘पल्लो घरको झ्याल’ ले नै काठमाडौंको गृहवास्तु र त्यसले निर्माण गर्ने संस्कृतिको बयान गर्छ । ‘रित्तो गाउँ’ मा कवि श्यामल लेख्छन्, ‘प्रेम र घृणाको निकटतम अभिव्यक्तिका लागि काठमाडौका अधिकांश घरका झ्यालहरूको तुलना अन्यत्रका घरहरूको झ्यालसँग हुनै सक्तैन । अघिल्लो पुस्ताका दिग्गज कथाशिल्पी गोठाले झ्याल संस्कृतिकै उपज र उन्नायक हुन् ।’
कुरो ०६१ साल कात्तिक महिनाको १४ गते शनिबारको हो । बिहानीपख समालोचक नेत्र एटम एकजना साथीलाई लिएर एउटा पत्रिकाको विशेषांकका लागि गोठालेसँग अन्तर्वार्ता गर्न उनको घर पुगेका थिए– काठमाडौंको गणबहाल, नेपाल आदर्श विद्याश्रमलाई दाहिने पारेर प्लटेमा ‘११६ ख, फतांगनी मार्ग’ लेखी भित्तामा टाँसिएको चारतले घर ।
‘भर्‍याङ चढेर चौथो तलामा पुगेका थियौं र खुल्लै रहेको फ्ल्याटमा हामी पुगेको कोठा उनको भान्सा थियो । गोठालेपत्नी सरस्वती मल्ल कुर्सीमा बसेकी थिइन्, गोठालेचाहिँ भात खाँदै,’ नेत्र एटम सम्झिन्छन् ‘अङ्ग्रेजी एल आकारको त्यस फराकिलो कोठमा पस्नासाथ मैले पल्लो घरको झ्याल कतैबाट देखिन्छ कि भनेर हेर्न प्रयास गरेको थिएँ, तर न्यानो घाम पसिरहेको दक्षिणतिरको झ्यालबाट बाहिर हेर्दा म निराश भएको थिएँ... । मिसरीको अचेतन मनको विशाल संसार खोज्दा–खोज्दा त्यस्तो दृश्य नपाएर खिस्रिक्क परेको म चटाइमा बस्दा–नबस्दै लट्ठीको आवाजसँगै गोठाले कोठामा पसेका थिए । कोठाको भित्तामा गोठालेका पिता सुब्बा ऋद्धिबहादुर मल्लको ठूलो मुहारचित्र टाँगिएको थियो । बाबु–छोराको अनुहार दुरुस्त थियो । पल्लो घरको झ्यालको अनुसन्धान भने त्यो छोटो भेटमा सम्भव भएन ।’
ल ल ल
कथाकार, सम्पादक, कवि अविनाश श्रेष्ठको प्रश्नमा भने गोठालेले भेद खोलेका रहेछन्, ‘पोइल जाने संस्कृति तिनताकको माहोलमा सामान्यजस्तै भएकाले त्यो त्यति चर्चा र चासोको कुरा मानिँदैनथ्यो बौद्धिक वृत्तमा । मलाई भने एउटा लोग्नेमान्छेको सग्लो अस्तित्व अगाडि हुँदाहुँदै एउटी स्वास्नीमान्छे कुन मनोविज्ञानले गर्दा परपुरुषतिर लहसिँदै जान्छे भन्ने प्रश्नले पछ्याइरह्यो । त्यसैले कुरा एउटी मिसरीको मात्रै होइन । त्यो मिसरी थुप्रै ऊजस्ता मिसरीहरूको साधारणीकरण हो भनी बुझ्नुभए हुन्छ ।’ (नागरिक, १० पुस ०६७) ।
‘गोठाले’ का कथाको अन्तर्य बुझ्न काठमान्डौको मुटुमा रहेको पाको पोखल्ड्याङ टोललाई बुझ्नुपर्छ । अनि त्यहाँका सडकको वास्तुकलाजन्य परिवेश हेर्नुपर्छ । मिसरी हीरामानसँग हिँड्नुमा परिवारको घरमा भइरहने भीड, श्राद्धको हलचल र असरल्ल सामानहरूले बनाएको भद्रगोलमय पारिवारिक परिवेशको पनि भूमिका छ सायद । ‘यो घर निर्माणको वास्तु रचनाले यस्तो परिवेश नबनाएको भए मिसरीको कथाले कस्तो मोड लिन्थ्यो भन्न सकिँदैन’, अभि सुवेदी भन्छन्, ‘घरहरूको बनावट एउटा घरबाट देखिने पल्लो घरको हलचल अनि पात्रहरूका गतिविधिले निकै प्रभावित गर्छन् । यो वास्तुकलाजन्य वा आर्किटेक्चरको परिवेशले एउटा नाट्यमञ्चको काम गर्छ । गोविन्द र विजय दाइलाई यही परिवेशमा शान्त, सहज र चिन्तनशील भएका अनेकौ अवस्था र क्षणहरूमा भेटिबसेको मलाई यो कथाको अर्थ जीवन्त, बलियो र प्रतीकात्मक पनि लाग्छ ।’
लेखक जगदीश घिमिरे आफ्नो किताब ‘स्थान, काल, पात्र’को ‘उपन्यास र युगबोध’ शिर्षक लेखमा नायिका मिसरीलाई परपीडक (सेडिस्ट) देख्छन् र स्वपीडक (मासोकिस्ट) पनि मान्छन् । उक्त लेखमा घिमिरेले यस किताबबारे लेखेका छन्, ‘मनोविश्लेषण सम्बन्धी केही थोत्रा र खण्डित मान्यताहरू केही विवादास्पद, अझै टुंगो लागि नसकेका र कहिल्यै टुंगो नलाग्ने वाक्छलहरू ।’
‘मिसरीको मनोदशालाई एकतर्फी अध्ययनबाट राम्रोसँग बुझ्न सम्भव छैन । यौन र पीडाको समिश्रणबाट बनेको उसको मनोविज्ञानको गहिरो अध्ययन र विश्लेषणबाट मात्रै मिसरीको जटिल चरित्र बुझ्न सकिन्छ । निराशा, अन्धकार, हिंसा, पीडा, चोट, आदि संवेगका साथै मिसरीको अवचेतन मनमा आत्मबर्बादीप्रतिको आकर्षण एकातिर छ भने आफ्नो सोझो लोग्नेप्रतिको दयाभाव पनि उसको चेतनमनमा भरपूर छ’, गनेस पौडेल भन्छन्, ‘उसको अवचेतन सेडोमासोकिज्म घरीघरी चेतनमै सल्बलाएर आउँछ । चारा चर्दै गरेको परेवालाई बिरालाले झम्टेको जस्तो हिंसाचारको दृश्य उसलाई घत पर्छ । लोग्नेबाट कुटिएकी सेतीसँग पनि उसलाई ईर्ष्या लाग्छ । ‘कति मजा हुन्छ’ उसको थेगोजस्तै छ । कसैको निराशामा, पीडामा, दुःखमा उसलाई सुख ईर्ष्या दुबै एकैसाथ लाग्छ । ऊ न पुरापुर सेडिस्ट (परपिडक) हो, न मासोकिस्ट (आत्मपीडक) । ऊ त एकसाथ दुवै हो ।’
ल ल ल
गोठाले त्यस्ता यशस्वी लेखकमध्ये हुन्, जसले साहित्यको सीमा मात्रै बढाउँदैनन्, साहित्यको नयाँ फ्रेम बनाउँछन् । आजको दिनमा इतिहासको यो मोडमा उभिएर गोठालेलाई पढ्नु आकर्षण होइन, अनिवार्यता लाग्छ । सहरी समाज हेर्ने उनको प्रक्रिया महत्त्वको छ । नाममा त उनको गोठाले छ । तर, भित्री काठमाडौंमा जन्मेका उनको लेखनमा गाउँले ‘गोठाले’ पना आयो त ? ‘झ्यालबाट’ मा ईश्वर बराल लेख्छन्, ‘गोठाले फूलनाउँअनुसार तिनका कथा अथवा एकांकी नाटकमा ग्राम्यजीवन तथा समाजको परिवेश हुनुपर्ने हो, तर तिनमा त्यही चाहिँ पाइन्न । तिनका कृति काठमाडौंली सहरी समाजका प्रत्यक्ष अभिज्ञताजात प्रतिविम्बन हुन् ।’
गोठालेका उपन्यास होस् वा कथा, अथवा नाटकमा नेवार समाजका मध्यम तथा निम्न वर्गका मान्छे, पुराना समयका राणाबाबुसाहेबहरू र इतिहासका चरित्रहरू पात्रका रूपमा आउँछन् । उनको लेखनका मुख्य विषय नै प्रकृति र समाज–व्यवस्थाबीचको लडाइँ हो ।
कथाकार, कवि अभय श्रेष्ठको बुझाइमा गोठाले फ्रान्सका कथाकार मोपाँसाजस्तै शब्दचित्रले मान्छेको ढोंग र अवचेतनको आन्द्राभुँडी छर्लंग देखाइदिन सक्ने आख्यानकार हुन् । ‘मिसरी, हरिभक्त र हीरामानबीचको त्रिकोणात्मक सम्बन्धमा मिसरी हरेक हिसाबले सुधो र प्रेम सम्बन्धमा निष्क्रिय हरिभक्तलाई छाडेर गुन्डो हीरामानतिर लहसिनुमा यही प्राकृतिक गुणले काम गरेको छ’, श्रेष्ठ भन्छन्, ‘गोठालेका हरेकजसो कृतिमा नेवारी समाजको जिवन्त चित्रण छ । दमित वर्गका पात्रहरू चुपचाप बस्दैनन्, कुनै न कुनै तरिकाले प्रतिवाद गर्छन् ।’
गोठालेले बुनेको महिलाको अर्न्तमनको चित्रणले नायिकालाई पूर्णतः न्याय गर्न सकेको छैन भन्ने लाग्छ भूषितालाई । ‘तुलनात्मक रूपमा हेर्दा केही वर्षको अन्तरालमा प्रकाशित प्र्रेमा शाहको पँहेलो गुलाफ र पारिजातको मैले नजन्माएको छोरो, दुई उही शैलीका कथामा नायिकाको बहुआयामिक व्यक्तित्वलाई पाठकका हिसाबले म बढि अभिव्यञ्जित र उन्नत पाउँछु ।’
काठमाडौंको नेवारी समाजलाई निकै राम्रोसँग बुझेका र बाँचेका थिए, गोठालेले । त्यसैले उनका कथामा ती समाजबाट उत्पन्न मानिसहरू छन् । समीक्षकहरूले भनेका छन्– गोठाले नेपाली साहित्यमा यौनमनोविश्लेषणात्मक कथा कहानीलाई पहिलोपल्ट उत्कृष्ट सीप र शैलीमा प्रवेश गराउने स्रष्टा बीपी कोइरालाबाट प्रभावित थिए । अविनाशसँगै गोठालेले भनेका रहेछन्, ‘म वीपीका कथाहरूबाट अत्यन्तै प्रभावित रहेँ । वीपीको लेखनको सहजता र मनोवैज्ञानिकताले मलाई सधैंभर आकर्षित गरिरहन्छ ।’
२०४१ देखि गोविन्दबहादुरको सान्निध्यमा रहेका अविनाश श्रेष्ठको बुझाइ छ, ‘काठमाडौंको एउटा कुलीन र सम्पन्न परिवारको व्यक्ति हुनुको दम्भ वा एकजना चर्चित लेखक हुँ भन्ने अहं उहाँमा रत्तिभर थिएन ।’
मिसरीको कथा अत्यन्त महत्त्वपूर्ण छ किनभने यो केवल आख्यान होइन, गोविन्दबहादुरकै अनुसार, यो हाम्रो इतिहास पनि हो । त्यसबेलाका मानिसको मनोविज्ञानको इतिहास । के मनोविज्ञानको पनि इतिहास हुन्छ ? हुन्छ । यो किताब त्यही इतिहास हो ।
ल ल ल
गोविन्दबहादुर मल्ल ‘गोठाले’ (जन्म १९७९ असार २६ गते पाको पोखल्ड्याङ र मृत्यु २०६७ मंसिर २७ गते गणबहाल) को लेखनको दुनियाँ काठमाडौंको सहरी जीवन र संस्कृतिमा सीमितजस्तो देखिन्छ, तापनि त्यसले मानव मनोविज्ञानको असीमित परिधिलाई समेटेकाले त्यो सार्वभौम, शाश्वत र सीमातीत पनि छ । गोठालेले रचेका कृतिहरूका प्रमुख पात्रपात्राहरू समाजमा विद्यमान ढोंगविरुद्ध कुनै न कुनै रूपले प्रतिवाद गरिरहेका हुन्छन्, यद्यपि पहिलो दृष्टिमा ती दमित र वाणीहीनजस्ता देखिन्छन् । ‘पल्लो घरको झ्याल’ की मिसरी पनि दुविधा–दुविधामै पति र घरविरुद्ध प्रतिवाद गर्छे । गोठालेले रचेका नेपाली साहित्यकी एउटी अमूल्य पुँजी हो मिसरी । मैले बनेपामा भेटेकी नेवार बालाभन्दा पनि ऊ भिन्न, चञ्चल र नैतिकताको लक्ष्मणरेखाबाट विमुक्त छे । मिसरी– चयनको स्वतन्त्रताका निम्ति एउटा विप्लवी उत्प्रेरणा !

 

कथा संक्षेप ः ‘पल्लो घरको झ्याल’ मा मिसरीको मानसिक ‘कुण्ठा’ र त्यसको पूर्तिको कथा छ । मिसरी तत्कालीन नेवार परिवारकी विवाहित युवती हो । उसको पति हरिभक्त अति सोझो छ । माइतीमा बस्दा पल्लो घरको
झ्यालबाट निरन्तर हेरेर हीरामान नामको गुण्डाले मिसरीलाई हैरान पार्छ । व्यवहारमा मिसरी हीरामानबाट मुक्त हुन खोज्छे, तर उसको अचेतन मनले भने उसैलाई पछ्याइरहन्छ । यौनसुखमा चासो नराख्ने पतिबाट विरक्त भएकी हुन सक्ने मिसरीको मन हीरामानको शक्तिशाली पौरुषतिर आकर्षित भइरहन्छ र प्रबल इच्छा नहुँदा नहुँदै पनि ऊ अन्त्यमा गोल्सनको उक्साहटमा हीरामानसित हिँड्छे । यसरी पल्लो घरको झ्यालको विम्बमा देखिने मिसरीको मानसिक दोधार र द्वन्द्वले विचलित मनोदशामै भए पनि एउटा भौतिक निकास पाउँछ ।

शनिबार विशेष

स्वर्ण पिाजडा

- सुमिना

बाटोमा एकसुरले हिाडिरहेकी तिमी
भोलि अचानक छाउन सक्छौ
कर्पोरेट मिडियाहरुमा
छाउन सक्छौ
देशका शीर्ष अखबारका पाना र टेलिभिजनका पर्दाहरुमा
बनेर सनसनीपूर्ण खबर

एकाएक भाइरल हुन सक्छ
सामाजिक सञ्जालमा
तिमीले लेखिरहेको ‘स्ट्याटस’
एकाएक चर्चित हुन सक्छ
कतै सेमिनारहरुमा
तिमीले बोलिरहेको सतही वाक्य
लगाइन सक्छन् बाटाघाटाका विद्युतीय पोलहरुमा
तिम्रा ठूलठूला पोस्टरहरु
चारैतिर तिम्रो अनुहार र व्यक्तित्वको
अतिशय बखान हुन सक्छ

त्यतिबेला
आफ्नो अतिशय चर्चाको खुसी मनाउादै गर्दा
एक पटक अवश्य सन्देह गर्नु
यो कृत्रिम प्रसिद्धि
कतै आफ्नै पतनको कारक पनि त हुन सक्छ
अनि आशंका गर्नु
तिम्रो प्रसिद्धिमा भूमिका खेलिरहने
आफ्नै प्रचारकहरुप्रति
आशंका गर्नु
तिम्रो बखान गर्ने
आफ्नै शुभचिन्तक या प्रशंसकहरुमाथि
आशंका गर्नु
माइक्रोफोन बोकेर तिमीलाई पछ्याइरहने
भीडमाथि पनि
आशंका गर्नु
हातहातमा उपलब्ध मोबाइल फोनहरुमाथि
र आशंका गर्नु
तिमीतिर सोझिएका डिजिटल क्यामेराहरुमाथि

होसियार हुनु
हुन सक्छ
प्रोपोगान्डा या बजार ’मास एटेन्सन’ को सिकार बनाएर
लैजान सक्छ तिमीलाई तिमीभन्दा पर
एक पृथक् दुनियाामा
जहाा तिमी फुर्सदमा एक पटक
अवश्य झस्किनेछौ आफ्नै आवृत्तिसाग

अलिकति गाजल र गुलाबी लिप्स्टिकको सहारामा
तिम्रो अस्तित्व निमिट्यान्न पारी
तिमीलाई कैद गर्न सक्छ
मानवताभाव, संवेदना र चेतना निचोरेर
आधुनिक युवतीजस्तै देखिने एउटा निर्जीव स्केचमा
जोसाग मानवीय आकृति त छ
तर, कतै दबिएको छ मानवीय संवेदना
जो हरबखत बजारको तालमा आफूलाई प्रस्तुत गर्छे
कहिले विज्ञापनको साधन बनेर
त कहिले नर्तकी बनेर
कतै यौनकर्मी बनेर
त कतै सेवा प्रदायक वस्तु बनेर

याद गर
यतिबेला युगको आागनमा
मडारिइरहेको छ पुाजीवाद
जो तिम्रो अस्तित्वका निम्ति सबैभन्दा घातक छ

हे स्त्री,
युगको आागनमा मडारिइरहेको पुाजीवादको साङ्लो
थाहै नपाई बेरिन सक्छ तिम्रो गर्धनमा
जो अति उदारताको ‘स्याम्पल’ देखाएर
सिद्ध हुन सक्छ तिमीमाथि अनुदार
दूर क्षितिजतर्फ लक्षित गर्दै
स्वतन्त्र उडानको सपना देखाएर
काटिदिन सक्छ सधैंका लागि
तिम्रो हौसलाको पंख
र कैद गरिदिन सक्छ स्वर्ण पिाजडाभित्र
एउटा रंगीन दुनियााको
सुसज्जित सुन्दर र रंगीन पन्छी बनाएर...⁄⁄

 

Page 7
शनिबार विशेष

'पृथ्वी कोल्टो नभइदिएको भए विश्वइतिहास फरक हुनेरहेछ’

- कान्तिपुर संवाददाता

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको दृष्टिमा हामी नेपाली अपूर्ण र एकांगी विकासको चित्रमा बढी मुग्ध छौं । भन्छन्, ‘विकास अर्थात् ढुंगा, माटो, गिट्टी, अलकत्रामा हामी अड्किएका छौं ।’ हाल यूएनडीपीको मुख्यालय न्युयोर्कमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार वाग्लेको विचारमा नेपाली समाजलाई खराब राजनीतिले न्याक्दा कला, संस्कृति र साहित्य ओझेल परेको छ । किताब संसारभित्र पसेर उनी गम्भीर ज्ञान–मीमांसा गरिरहेका हुन्छन् । उनलाई प्रभाव पारेका किताब, तिनका सन्दर्भ र अध्ययनका विविध आयामबारे वाग्लेसँग कृष्ण आचार्यले गरेको संवाद ः

किताबको संगतमा कसरी पुग्नुभयो ?
एसएलसीसम्म अतिरिक्त किताब उति पढिनँ । केही किशोर साथीहरूमाझ अंग्रेजी उपन्यास प्रिय थिए । मेरोचाहिँ त्यतातिर लगाब थिएन, पाठ्यपुस्तकमै घोत्लिन्थें । जाँचमा धेरै नम्बर ल्याउने र छात्रवृत्ति पाएर विदेश पढ्न जानुपर्छ भन्ने एकसूत्रीय सोच थियो । सन् १९९३ मा बेलायत गएपछि पाठ्यपुस्तकभन्दा बाहिरी ज्ञानतिर पस्न थालें । बेलायत यसै पनि ऐतिहासिक र सुसंस्कृत सहर ! ‘चार्ल्स डिकेन्सले उपन्यास लेखेको स्थान’, ‘विन्स्टन चर्चिल युद्धकालमा बसेको घर’ जस्ता दर्जनौं ऐतिहासिक रेकर्ड बेलायतका गल्ली–गल्लीमा देखिन्थे । बीबीसी विश्व सेवा थियो, त्यहाँ काम सुरु गरें, २० वर्षको थिएँ । सहजै संसद्भवन छिरेर बहस सुन्न सकिन्थ्यो, एक पटक त प्यालेस्टिनी ‘लेजेन्ड’ यासर अराफतसँगै जम्काभेट भयो । यसरी इतिहास र समसामयिक विषयमा चासो राख्ने एक अर्थशास्त्रको विद्यार्थीका नाताले मेरो लन्डन बसाइ अत्यन्तै रोमाञ्चक रह्यो । लन्डन स्कुल अफ इकनमिक्सको पुस्तकालय विश्वकै सबभन्दा ठूलो समाज विज्ञानको भण्डार हो । त्यहाँभित्र पसेपछि मेरो घण्टौं समय उसै बित्थ्यो ।

किताब कसरी छान्नुहुन्थ्यो ?
सुरुआतमा अर्थशास्त्रका किताब छानीछानी पढ्थें । बिस्तारै अर्थराजनीति र इतिहासका किताबतिर लागें । सँगै फिक्सन पनि पढ्न थालें । विश्वप्रतिष्ठित साहित्यिक पुरस्कार बुकरको चर्चा वर्षैभर चलिरहन्थ्यो । दक्षिण एसियाली भएका नाताले अंग्रेजीमा लेख्ने एसियन मूलका विक्रम सेठ, भीएस नयपल, सलमान रुस्दी, रोहिन्तन मिस्त्रीजस्ता लेखकका किताब चाख लिएर पढ्थें । पछि मूलधारका ब्रिटिस, अमेरिकन लेखकका किताब पढ्न थालियो । ब्रिटिस लेखक ईएन मकएवन मेरा प्रिय थिए । समग्रमा अर्थशास्त्र, अर्थराजनीति, इतिहास र फिक्सन पढ्ने मेरो लत त्यही बेला बसेको हो ।

कस्ता किताबले जीवनमा धेरै प्रभाव पारे ?
जीवनमा प्रभाव पारेको र मेरो सोचाइमै परिवर्तन ल्याएका किताब धेरै छन् । तर, आज दुई किताबको मात्रै चर्चा गर्छु । २२ वर्षअघि स्नातकोत्तर पढ्न म हार्भर्ड विश्वविद्यालय पुगेको थिएँ । त्यसबेला २ वटा किताबको विशेष चर्चा थियो । पहिलो थियो– ज्यारेड डायमन्डले लेखेको– ‘गन्स, जर्म्स एन्ड स्टिल’ । किताबमा युरोपेलीहरू कसरी अगाडि आए भन्ने विवरण छ । लगभग १० हजार वर्षअघिदेखि १५ औं शताब्दीसम्मको मानव इतिहास तथा सभ्यताको चित्रण छ किताबमा । १५ औं देखि करिब २० औं शताब्दीसम्मको अवधि समेटेर लेखिएको त्यसबेला चर्चामा रहेको दोस्रो किताब हो– ‘द वेल्थ एन्ड पभर्टी अफ नेसन्स’ । यो किताब डेभिड लान्डेसले लेखेका हुन्, जसमा औद्योगिक क्रान्तिअघिका केही शताब्दी र औद्योगिक क्रान्तिका चरित्रबारे चर्चा छ । यी दुई किताब पढेपछि ‘हामी कसरी यहाँसम्म आइपुग्यौं ?’ भन्ने विषयमा स्पष्ट हुन्छौं । मानव प्रगतिको विषयलाई बहुआयामिक विधाको कोणबाट चित्रण गरेका छन् दुवै किताबले । विकास अर्थशास्त्रीका रूपमा मेरो जीवनको पेसेवर अध्याय सुरु हुँदा यी किताबले ठूलो प्रभाव पारे । किताबले बौद्धिक मुद्दाहरूको उठान गर्ने, विश्लेषण गर्ने र सोच्ने तरिका नै फरक पारिदियो ।

ॅगन्स, जर्म्स एन्ड स्टिल’ को उद्देश्य के हो ? किताबले पृथ्वीको इतिहासबारे तपाईंको सोचाइमा के असर गर्‍यो ?
हामी सामान्यतया किन कुनै देश धनी भए वा पछि परे भन्ने सन्दर्भमा त्यहाँको राजनीति राम्रो वा खत्तम, नेता नै झुर वा राम्रो भन्ने कोणबाट धेरै बहस गर्छौं । तर, राजनीति वा राजनीतिज्ञको गुणस्तर खराबीको ‘सिम्पटम’ हो, कारकतत्त्व प्रायः अलि गहिरै हुन्छ । अमेरिका किन उन्नत भयो भन्दा जर्ज वासिङ्टन, अब्राहम लिंकन, फ्य्राङ्कलिन रुजभेल्ट, केनेडीजस्ता मानिसको नाम लिँदै ‘सजिलै’ उत्तर दिइन्छ । हाम्रोमा पनि मुलुक किन बनेन भन्दा ‘नेता नै खत्तम’ भनेर बुद्धिजीवीदेखि चिया चौतारोसम्म टिप्पणी हुने गर्छ । सयौं वर्षको प्रमाण केलाएर अहिले विकास अर्थशास्त्रमा ‘संस्था’ वा ‘इन्स्टिट्युसन’ हरूको प्रधान भूमिकाबारे जरोमै पुग्ने गहिरो शोध जारी छ । इन्स्टिट्युसन केवल साइनबोर्ड झुन्ड्याएको भवन होइन, आर्थिक–राजनीतिक खेलका नियम र ती कत्तिको दोहनकारी छन् वा छैनन् भन्ने पनि हो । त्यस्तै हजारौं वर्षको प्रमाण केलाएर भूगोलको भूमिकाबारे पनि यथेष्ट चर्चा भएको छ । डायमन्डको किताबलाई पछिल्लो कोटीमा राख्न सकिन्छ । उनले युरोपेलीहरू अघि देखिनुमा बीउ, जीवाणु र बन्दुकको भूमिका छ भन्ने ‘थेसिस’ अघि ल्याए । कसरी त ?
पहिलो बीउ– मानव इतिहासमा कृषिको ६ पटक उदय, पुनरोदय, आविष्कार र पुनः आविष्कार भएको मानिन्छ– १२ हजार वर्ष पहिले पपुवा न्युगिनी, दोस्रो चीन, तेस्रो मेक्सिको, चौथो पेरु, पाँचौं अमेरिका, छैटौं युरोप र मध्यपूर्व जोड्ने लभान्ट क्षेत्रमा । लभान्टमा बीउ चाँडै उम्रन्थ्यो, हुर्कन्थ्यो र व्यवस्थापन गर्न पनि सजिलो थियो । फेरि प्रयोगका लागि बीउको आकार पनि ठूलो र उन्नत थियो । यी विषय औद्योगिक विकासभन्दा निकै अघिका हुन्, जतिबेला जनघनत्वको महत्त्व थियो । तीन जना मान्छे जम्मा भए तीन जोडी विचार आउँछन् । ६ जना मान्छे भयौं भने १५ जोडी विचार । जनघनत्व जति बढी भयो उति नै विचार, सहकार्य र सम्भावनाको दायरा फराकिलो हुँदै जान्छ । ठूलो जनसंख्या धान्न कृषि उत्पादन महत्त्वपूर्ण हुने भयो । बीउ, कृषि, जनसंख्या, विचार र प्रगतिको साइनो सुरुमा यसरी जोडियो ।
दोस्रो, जीवाणु– त्यहाँ जनावर पनि ठूल्ठूला र घरमै पाल्न उपयुक्त जातका भए । खेती गर्न मान्छेले ठेल्दाभन्दा जनावरले ठेल्दा बढी शक्ति प्राप्त भयो । साथै जनावरसँगै बस्न थालेपछि तिनले सार्ने रोगविरुद्ध मान्छेको प्रतिरोधात्मक क्षमता (इम्युनिटी) पनि बढ्यो । पछि उपनिवेशको खोजीमा युरोपेलीहरू उत्तर र दक्षिण अमेरिका पुग्दा त्यहाँका आदिवासीहरू सखाप भए किनभने युरोपेलीले ल्याएको रोगसँग भिड्ने इम्युनिटी त्यहाँ थिएन ।
तेस्रो, बन्दुक– जनघनत्वसँगै प्रविधिका रूपमा कम्पास, पाङ्ग्रा, टेक्सटायल, धातुसँग काम गर्ने सीप र जहाजको पनि प्रयोग हुन थाल्यो । सबैभन्दा महत्त्वपूर्णचाहिँ किताबले भनेको ‘गन’ अर्थात् बन्दुकले अन्य सबै आविष्कारको शक्तिलाई थप मजबुत बनायो, अर्थात् ‘म्यग्निफाई’ गरिदियो ।
समग्रमा यो किताबले १५ औं शताब्दीअघिका यी तथ्य अगाडि ल्याएको छ र जोडेको छ– पृथ्वीको ढल्केको आकारसँग । पृथ्वी सोझो भकुन्डोजस्तो नभएर अलिकति ढल्केको छ नि, त्यसको दूरगामी प्रभाव रह्यो । पूर्वदेखि पश्चिम र पश्चिमदेखी पूर्वतर्फ प्रविधि सजिलै सर्न सक्ने तर उत्तर–दक्षिणचाहिँ सर्न असजिलो भयो । जस्तो मेक्सिकोमा उब्जनी भएको मकैको बीउ त्यहीँ माथिको मिसिसिपी पुग्न हजारौं वर्ष लागेको छ । तर, भूगोल र जलवायुले पूर्व–पश्चिम यात्रा सहज हुँदा चीनमा भएको आविष्कार तुरुन्तै युरोप पुगिहाल्ने भयो । इटालीका मार्को पोलो १३ औं शताब्दीमै चीन पुगे । युरेसिया लामो, पूर्व–पश्चिम जोडिएको ठूलो महादेश भएकाले प्राचीन सभ्यता सबै त्यहीँ देखियो । पृथ्वी सोझो भइदिएको भए विश्वको इतिहास अहिलेभन्दा निकै फरक हुने रहेछ भन्ने कल्पनाले हाम्रो मस्तिष्क हल्लाउँदैन र ?

अनि अर्को किताब ॅद वेल्थ एन्ड पभर्टी अफ नेसन्स’ माथि पनि सारांशमा विमर्श गरौं न ⁄
यो किताबमा औद्योगिक क्रान्तिभन्दा ३ सय वर्षअघिदेखिको पूर्वतयारीका कुरा छन् । ब्लक छपाइ, सेरामिक्स, गन–पाउडर, कम्पास, रेशम र धान खेती आदिको आविष्कार चीनमा भइसक्दा युरोपमा केही विकास भएको थिएन । तर, औद्योगिक क्रान्ति युरोपमा भयो, चीनमा भएन, किन ? सन् १४९२ तिर कोलम्बस अमेरिका पुगे । जबकि चिनियाँहरू जहाज लिएर १४१७ मै अफ्रिका पुगे भनिन्छ । तर, केही दशकपछि यस्ता बाह्य गतिविधिमा सम्राट्ले बन्देज लगाए । सन् १४५० तिर अन्तर्मुखी बनेको चीन एकै पटक देङ स्याओपिङ आएपछि १९७८ मा नाटकीय ढंगले खुल्यो । त्यसैले ‘साइनोलोजिस्ट’ हरू भन्छन्– चीन बुझ्न सय–सय वर्षको विश्लेषण चाहिन्छ, दुई–चार वर्षको उतारचढाव होइन । र, यस्ता ठूल्ठूला निर्णयको प्रकृति राज्यसत्ताको चरित्रसँग गाँसिन्छ । चीन र युरोपको राजकीय शक्तिका पृथक् पृष्ठभूमिलाई कसरी बुझ्ने भन्नेबारे मैले यस पुस्तकबाट निकालेका केही निस्कर्ष छन्—
पहिलो– प्रतिस्पर्धात्मक वैधता । युरोपमा स–साना टुक्रे राज्य थिए । विचारक वा मन्थन गर्न सक्ने कला भएका, आविष्कार गर्ने जो कोही प्रतिभाशाली मान्छेलाई त्यहाँको शासकले दुःख दिँदा एक राज्यबाट अर्कोमा भागेर जाने ठाउँ थियो । यदि कसैले लन्डनमा कुनै सास्ती भोग्यो, उसलाई जेनेभा जान सजिलो भयो । पेरिसमा कुनै सास्ती भयो, भेनिस भागे भयो । चीनले भने इसापूर्व २२१ देखिकै एकीकृत राज्य मात्र होइन, आफूलाई बह्माण्डकै केन्द्रविन्दु मान्थ्यो । प्रताडित चिनियाँहरू भागेर जाने कहाँ ? प्रतिस्पर्धात्मक सहरी राज्यहरूको सञ्जालले कला, विज्ञानको प्रवर्द्धनमा सघायो । चीनले स्थायित्व रोज्यो, समाज गतिशील भएन । अर्को विषय, युरोपका नदीहरूमा धेरै बन्दरगाह छन् । आउने–जाने विकल्प धेरै छन् । चीनका ठूला नदी एउटै भूभागमा कैद थिए । खासगरी व्यापारमार्फत वस्तु र विचारको आदानप्रदानमा भूगोल र नदीहरूको भूमिका ठूलो हुन्थ्यो ।
दोस्रो– सहरहरूको उदय । युरोपमा सार्वभौम राज्यको उदयअघि सहरहरूको उदय भएको हो । युरोपको उत्थान सहरले गराएको हो । १३ औं देखि १५ औं शताब्तीका सहरको इतिहास हेर्नुस् त– फ्लोरेन्स, रोम, भेनिस, मिलान,
नेपल्स ! पछि एटलान्टिक ट्रेड सुरु भएसँगै बेलायत, हल्यान्ड, फ्रान्सका सहर चम्किन थाले । सहर र गाउँको आफ्नै कार्यविभाजन थियो । सामन्तहरू गाउँमा बस्थे । सहरहरूले स्वायत्तताको अभ्यास गरे । र, आफ्नै ट्रेड एसोसिएसन बनाउने, श्रमलाई सीपयुक्त बनाउने काम गरे । शासकहरू उबेला कम हस्तक्षेप गर्थे । फोर्टिफिकेसन (किल्ला) भएका सहरमा आफ्नै कानुनी–राज, व्यावसायिक नियम, मौलिक लेखाप्रणाली, क्रेडिट र श्रम बजार स्थापित हुँदै गएर आधुनिक पुँजीवादको जग बसेको हो । बेलायतको बैंक अफ इङ्ल्यान्ड सन् १६९४ मा स्थापना भएको छ । विशाल भारतलाई उपनिवेश बनाएर निलेको इस्ट इन्डिया कम्पनी सेयरहोल्डर भएको सानो निजी कम्पनी थियो, जसको लन्डनमा जम्मा पाँचवटा झ्याल भएको सानो अफिस थियो सुरुमा ।
तेस्रो– वैज्ञानिक विधि र संस्थाहरू । युरोपमा अनुसन्धानको सामान्यीकरण हुन थालेको १६ औं–१७ औं शताब्दीदेखि हो । अवलोकन गर्ने, त्यसलाई सूक्ष्म ढंगले व्याख्या गर्ने र दस्ताबेजीकरण गर्ने प्रवृत्ति किन क्रान्तिकारी भयो ? किनकि ज्ञान–विज्ञान अघि बढ्न ‘रेप्लिकेसन’ र ‘भेरिफिकेसन’ चाहिन्छ । क्याम्ब्रिज विश्वविद्यालयमा आइज्याक न्युटनले यो यो देखें भनेर टिपे । त्यही कुरा अन्य वैज्ञानिकले पुष्टि गरे । वस्तुनिष्ठ भएर, एकआपसमा जोडेर व्याख्या गर्ने चलन त्यहीँबाट सुरु भएको हो । एक–एक इँटा थपेजस्तो गरेरै आविष्कारको दायरा बढ्दै जाने हो । त्यसलाई प्रिन्टिङ प्रेसको आविष्कारले थप फैलायो । टेलिस्कोप, पेन्डुलम, भर्नियर स्केल, क्याल्कुलसको आविष्कार भएपछि विज्ञान थप परिष्कृत हुँदै गयो । यसरी वैज्ञानिक अनुसन्धानको सामान्यीकरणबाटै उच्च विज्ञान र प्रविधिको लहर आएको हो । न्यूनटले सन् १६८७ मा भौतिकशास्त्रमा
फड्को मारे, त्यो सबै पहिले छरिएर रहेका आविष्कारको जगमा गरिएको थियो । वैज्ञानिक कुरालाई संगठित गर्न बेलायतको रोयल सोसाइटी सन् १६६० मा गठन भएको हो, जसले ज्ञानको संग्रह गर्ने, सभा–सम्मेलन गर्ने, विचार आदानप्रदान गर्ने, जर्नल निकाल्ने काम गर्न थाल्यो । बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पहिलो पटक सन् १४७३ मा आएको छ युरोपमा ।

औद्योगिक क्रान्ति नबुझी संसारको त्यो कायाकल्प बुझ्न नसकिएला ⁄ औद्योगिक क्रान्तिको विषयमा ॅद वेल्थ एन्ड पभर्टी अफ नेसन्स’ ले
केही प्रस्ट पारेको छ ?
औद्योगिक क्रान्तिले सन् १७५० पछि गति समाते पनि हामी वास्तविक ‘टेक–अफ’ को मिति सन् १८२० लाई मान्छौं– ठ्याक्कै २०० वर्षअघि । हाम्रा पुर्खाका कैयौं पुस्तासम्म जीवनस्तर उस्तै थियो । तर, सन् १८२० पछि ३०–४० वर्षमै कायापलट हुन थाल्यो निरन्तर आर्थिक वृद्धिको चमत्कारले । कसरी ? मान्छेको श्रमलाई जनावरको श्रमले प्रतिस्थापन गर्‍यो र औद्योगिक क्रान्तिमा मेसिन आए । उदाहरणका लागि बाफको शक्ति । सन् १६९८ मा तापको शक्तिबारे जानकारी भयो, १७६८ मा वाट स्टिम इन्जिन नै बनाइयो, १५ वर्षपछि घुम्ने गरी बनाइयो । यसले जहाजहरू चलाउने शक्ति निर्माण गर्‍यो । गैरमानवीय मेसिन प्रयोगमा आएपछि मेटल, टेक्सटायल, हाइड्रोलिक प्रेस, वाटर टर्बाइन, सिउने मेसिन र ग्यास लाइट आविष्कार गरियो । यसले एकै पटक ठूलो परिमाणमा औद्योगिक उत्पादनको सुरुआत भएको हो । यसपछि बजारमा चुस्त र प्रतिस्पर्धात्मक उत्पादन आउन थाले । मेसिनका आधारमा कलकारखानामा आधारित उत्पादन हुन थालेपछि कृषिबाट उद्योग अनि गाउँबाट मान्छे सहरतिर लागे । एउटा आविष्कारले अर्को आविष्कारलाई परिपूरकका रूपमा काम गरेको हो । आज हामी चौथो औद्योगिक क्रान्तिको युगमा छौं— पहिलो, ‘बाफ र रेल’ दोस्रो, ‘बिजुली र फेक्ट्री मोडल’, तेस्रो, ‘कम्प्युटर मेनफ्रेम र सेमिकन्डक्टर’ र चौथो, ‘इन्टरनेटमा आधारित डिजिटल युग’ ।
विकास र आविष्कारका सन्दर्भमा कुरा गरिरहँदा तपाईंले अन्य विकसित देश–महादेश (अमेरिका, जापान) का त कुरै गर्नुभएन नि !
मैले माथि गरेको चित्रण विशुद्ध युरोपेली हो । त्यो समय अमेरिकामा आप्रवास बल्ल सुरु भएको थियो, ऊ विश्वमञ्चमा जबर्जस्त आएको १९ औं शताब्दीपछि मात्रै हो । अमेरिकामा गृहयुद्ध सकिनु र जापानमा ‘मेजी रेस्टोरेसन’ एकैताका भएका हुन्– १८६० को दशकमा । १५–१८ औं शताब्दीमा युरोप, चीन र भारत नै सापेक्षिक रूपमा पृथ्वीका समृद्ध ठाउँ थिए । पृथ्वी कोल्टो परेकोले पूर्व–पश्चिम सहकार्यको भूमिका पनि यसमा छ । २० औं शताब्दीमा आएर अर्थशास्त्री साइमन कुज्नेट्सले ठट्टाको शैलीमा भनेका छन् ः ‘विश्वमा ४ प्रकृतिका देश छन्– विकसित, अविकसित, जापान र अर्जेन्टिना ।’

जापान र अर्जेन्टिना किन छुट्टै हुन् त ?
जापान सुरुमा दादागिरीको दबदबा भएको मुलुक थियो– सोगनेट । सन् १८६८ मा आएर मात्र उसले छलाङ मारेको हो । जापानले चीनको अधोगति पनि हेरिरहेको थियो । जापानका सम्राट् मेइजीले पूर्वीय सभ्यता जोगाई पश्चिमी विज्ञान र प्रगतिबाट सिक्नुपर्छ भनेर आधुनिकीकरणको यात्रा तय गरे । मेइजीले राजदूत इवाकुरालाई तीन वर्षका लागि युरोप र अमेरिका पठाए, त्यताका ‘प्रगति बुझेर आऊ’ भनेर । त्यस टोलीले अमेरिका, बेलायत, फ्रान्स, बेल्जियम, हल्यान्डसमेत घुमेर फर्किएपछि १८७८ मा पाँच भोल्युमको रिपोर्ट दिएको छ । फ्रान्सको प्रशासकीय र न्यायिक प्रणाली, जर्मनीको सैन्य संरचना, अमेरिकाको प्राथमिक विद्यालय, बेलायतको नौसेना, हुलाक र टेलिग्राफ, बेलायतको राष्ट्रिय बैंक भव्य रहेछ भन्ने रिपोर्ट टोलीले बुझायो । बेलायतको संसदीय व्यवस्था जापानले सन् १८९० मै अनुकरण गर्‍यो । १८९५ मा जापानले रुसमाथि युद्धमा विजय हासिल गर्‍यो । अमेरिकासँग भएको असमान सन्धि खारेज गर्‍यो । त्यसपछि जापान ‘साँढे’ भएर निस्कियो । ५० वर्षजति अत्याचारी अराजक बन्यो । जापान ‘शान्तिप्रिय’ बनेको त नागासाकी र हिरोसिमामा अणु बम खसेपछि मात्रै हो । सार के हो भने एउटा कालखण्डमा बृहत् भिजन भएको नेतृत्व नै आउनुपर्दो रहेछ । दुनियाँबाट सिक्नुपर्छ, जे सिकिन्छ त्यो लागू गर्नुपर्छ भन्ने नेतृत्व चाहिन्छ । एकदम तल रहेको अर्जेन्टिनाको कथा पनि रोचक छ । एक सय वर्षअघिसम्म क्यालिफोर्निया र अर्जेन्टिना कहाँ जान्छौ भनेर युरोपेलीलाई सोध्यो भने उनीहरू ‘उस्तै त हो नि सम्भावना, जता गए पनि हुन्छ’ भन्थे रे ! तर, अहिले क्यालिफोर्निया कहाँ माथि पुग्यो, अर्जेन्टिना कति तल छ ! १९ औं बाट २० औं शताब्दीमा आउँदै गर्दा नेतृत्वको कमजोरी, गलत नीतिगत रोजाइ आदिका कारण अर्जेन्टिनाले बाटो बिराएको थियो ।

माथि चर्चा भएकाबाहेक हाल नयाँ किताब के–के पढ्दै हुनुहुन्छ ?
किनेर पढ्न सुरु गरेको, तर सकि नसकेका केही थान पुस्तक छन् । जसेफ हेनरिकको ‘विर्डएस्ट पिपल इन द वर्ल्ड’, भक्लाव स्मिलको ‘ग्रोथ’, एड डगलसको ‘हिमालय’, लिन्डा कोलीको ‘द गन, द सिप एन्ड द पेन’, क्लाउस मुल्हानको ‘मेकिङ चाइना मडर्न’, हेर्मिओन लीको ‘टम स्टोपार्डः ए लाइफ’ । अहिले देवेन्द्रराज पाण्डेको ‘एक ज्यान दुई जुनी’ पनि पढ्दै छु । र, केही दिनअघि वासिङ्टनमा रहेका असाध्यै धेरै किताब पढ्ने मेरा मित्र नीरज श्रेष्ठले नेपाली मूलका दार्जिलिङका कवि रोहण क्षत्रीबारे जानकारी दिए । रोहण विश्वस्तरकै बेजोड नयाँ प्रतिभा रहेछन् ।

अनि अहिलेको महामारी बुझ्न कस्ता किताब पढिरहनुभएको छ नि ?
विश्वका प्रतिष्ठित अखबारले महामारीका विविध पाटामाथि निरन्तर ‘कभरेज’ गरिरहेका छन् । सन् २०२० मा ‘द एटलान्टिक’ मा एड योङले गरेको वैज्ञानिक रिर्पोटिङको शृंखला उत्कृष्ट थियो, उनले पुलिट्जर पुरस्कार पनि पाए यही साल । हालै रायन बोर्नको किताब पढेँ– ‘इकनमिक्स इन वान भाइरस’ । किताबले कोभिड–१९ को आँखीझ्यालबाट अर्थशास्त्र कसरी सिक्ने भनेर रोचक ढंगले बुझाउँछ । अब महामारीपछिको नयाँ विकास–पथ वा प्राथमिकताबारे मेरै सह–सम्पादनमा १३ वटा अध्यायको पुस्तक यसै वर्ष छापिँदै छ, क्याम्ब्रिज विश्वविद्यालय प्रेसबाट ।

तपाईं केका लागि पढ्नुहुन्छ ? ज्ञान र आनन्द लिन कि बाध्यताले ?
पहिलो त ज्ञानको दायरा बढाउनकै लागि पढ्ने हो । व्यक्तिगत वृत्ति विकासका लागि पनि पढाइ अपरिहार्य छ । तर, त्यसमा आनन्द अन्तर्निहित हुनुपर्छ । आनन्द वा उत्साहले आत्मविश्वास भर्छ । २५ वर्षअघि यी दुई किताब पढ्दा ‘ए गाँठे, पृथ्वी कोल्टो भएर यस्तो भएको पो रहेछु’ भन्ने दाबीले अहिलेसम्म तरंगित बनाउने र चिरस्थायी प्रेरणा दिने काम गर्छ मलाई । नयाँ ज्ञानले दिने ऊर्जा स्वर्गीय छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कामको सिलसिलामा सोच्ने तरिका फरक पारिदिन्छ । यस्तै पुस्तकको अध्ययनले मलाई एउटा प्राविधिक अर्थशास्त्रीको साँघुरो फ्रेमबाट बाहिर ल्याएको हो भन्ने लाग्छ ।

मन परेका किताबलाई के गर्नुहुन्छ ?
‘न्युयोर्क टाइम्स’, ‘द इकनमिस्ट’, ‘द न्युयोर्कर’ जस्ता राम्रा पत्रिकामा आएका पुस्तक समीक्षा नियमित पढ्छु । र, राम्रा किताब किनेरै राख्ने बानी बसेको छ । पछि काम लाग्ला भनेर किनेका, तर पढ्न नभ्याएका किताब धेरै छन् । सानोतिनो लाइब्रेरी छ घरमा । अहिले इन्टेरनेटले पनि सहयोग गरेको छ । तर, हार्डकपीमै मेरो मोह छ । लामो शोध गरेर लेखिएका र अझ पुरस्कृत किताबमा मेरो ध्यान बढी जान्छ । ‘फाइनान्सियल टाइम्स’ का प्रतिष्ठित स्तम्भकार मार्टिन वोल्फले केही दिनअघि १५ वटा ताजा किताबको चर्चा गरेका थिए । तिमध्ये चारवटा मैले झिकाइसकें– दुईवटा नवप्रवर्तनबारे, एउटा भाइरसले सिकाएको अर्थशास्त्रबारे र अर्को मिनुस सफिकले लेखेको नयाँ सामाजिक करारबारे ।

अन्तर्राष्ट्रिय बजारमा छापिएका किताबबारे निकै चर्चा गर्नुभयो । एकछिन नेपाली किताबबारे कुरा गरौं ⁄
वर्षौं शोध (अनुसन्धान) गरेर, प्राज्ञिक खालको जगमा लेखिएका किताब मलाई बढी मन पर्छन् । मैले माथि इङ्गित गरेका पुस्तक ५ देखि १५ वर्ष लगाएर लेखिएका हुन् । उदाहरणका लागि रबर्ट कारो नामका एक इतिहासकार छन्, जसले ३६ औं अमेरिकी राष्ट्रपति लिन्डन जन्सनबारे ५ भल्युमको जीवनी लेखेका छन्, ३० वर्षसम्म शोध गरेर । यसरी पश्चिमा प्राज्ञले लेख्नेजस्तो कालजयी प्राज्ञिक कृति नेपालमा कमै लेखिएका छन् । अपवादमा महेशचन्द्र रेग्मीका पुस्तक पर्छन् । ‘त्यसबखतको नेपाल’ पनि लामो समय लगाएर लेखिएको संस्मरण हो । नत्र हामीकहाँ केही महिनामै टिपन–टापन गरेर एक थान किताब निकाल्ने होड छ । अहिले पुस्तक प्रकाशन गृह पनि धेरै खुलेका छन्, प्रतिस्पर्धा बढेको छ । तर, ज्ञानको दायरालाई फराकिलो बनाउने खालका पुस्तक उति देख्दिनँ । विश्वविद्यालयका प्राध्यापकहरूले त्यस्ता किताब लेख्नुपर्ने हो । हाम्रोमा त्यतातिर संस्कार, क्षमता र उत्प्रेरणाको जग बसिसकेको देखिन्न ।

किताबबिनाको जीवन र पुस्तकालयबिनाको देशको कल्पना गर्न सक्नुहुन्छ ?
यो मान्छेको सभ्यतागत अस्तित्वमै गएर जोडिन्छ । किताब नपढ्ने, किताब पढेर नसिक्ने, किताब नलेख्ने वा आफू नपढे पनि किताबको सम्मान नगर्ने मान्छेहरूसँग संगत गर्नै नपरोस् भन्ने लाग्छ ।

पुस्तक र पुस्तकालयका सन्दर्भमा हामी कहाँ, कुन स्थानमा छौँ ?
यी सन्दर्भमा हामी अत्यन्तै नाजुक अवस्थामा छौं । हाम्रो मुलुक राजनीतिप्रधान भयो । पुस्तकालयका बीउ रोपिएका थिए, तर हुर्केनन् । केशर पुस्तकालय त्यो समयमा त्यत्रो भिजन र सामर्थ्यका साथ बन्यो । तर, संवर्द्धन गर्न सकेका छैनौं । मदन पुस्तकालय पनि राम्रो प्रयास हो । राष्ट्रिय पुस्तकालयको पनि बेहाल छ– हरिहर भवनबाट लखेटियो, जमलमा बनाउने भनिए पनि पुस्तकालयको भवनका लागि जग नै खनिएको छैन । पुस्तकालय बनाउनसमेत अनशन बस्नुपर्ने, आन्दोलन गर्नुपर्ने विन्दुमा छौं हामी । विश्वविद्यालयका पुस्तकालयहरू सुरुमा राम्रा हुने, पछि मेन्टेन वा विस्तारित नहुने अवस्था छ । खराब राजनीतिले समाजलाई न्याँक्दा कला, संस्कृति, साहित्य ओझेल परेको छ । तर, सबै विषयमा राज्यमै आश्रित हुनुपर्छ भन्नेचाहिं होइन । बुझेका, स्रोत भएका, विश्व देखेका एलिटहरूले व्यक्तिगत पहलमा पनि यी काम अगाडि बढाउन सक्छन् । अलिअलि त्यस्तो पहल भएको पनि छ । सामुदायिक स्तरमा पनि पहल भएका छन् । आधुनिकीकरणसँगै पुस्तकालय, कन्सर्ट हाउस,
नाट्यघर, संग्रहालय र खुला ठाउँ आवश्यक छन् । हामी भौतिक रूपमा त्यो चरणमा पुगिसकेका छैनौं । तर, चेतना भने स्थापित हुनपर्थ्यो । विकास अर्थात् ढुंगा, माटो, गिट्टी, अलकत्रामा अड्किएका छौं हामी । र, हामी अपूर्ण, एकांगी विकासको चित्रमा बढी मुग्ध भयौं ।

तपाईं आफैंले पनि किताब लेख्नेबारे केही सोच्नुभएको छ कि ?
म प्राज्ञ होइन । प्राज्ञ भएको भए ‘पब्लिस अर पेरिस’ को मन्त्रले तर्साउँथ्यो होला, अर्थात् ‘शोध प्रकाशन गर, नभए सिद्धियौ’ । एउटा पेसेवर प्राक्टिसनर मात्र भएकाले त्यता मेरो समय गएको छैन । तर, अन्तर्राष्ट्रिय प्रकाशन गृहहरूमार्फत लेखिएका किताबभित्र धेरै च्याप्टर धेरै छपाएको छु । पछिल्लो समय मैले ‘जब्स, इन्भेस्टमेन्ट एन्ड द इकोनमिक स्ट्रक्चर’ भन्ने पुस्तक ल्याएँ । छरिएका केही नीतिगत शोधमूलक लेखलाई अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा एकीकृत गरेको छु त्यसमा । यसलाई म आफैं गन्दिनँ, केपी ओलीको कार्यकालमा मैले लेखेका लेखहरूको एकीकृत संग्रह पनि छापिने प्रक्रियामा छ । म त्यसलाई पनि मिहिनेत परेको उल्लेख्य पुस्तक मान्दिनँ ।

तपाईं आफैं पनि सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) लाई
एउटा पोलिसी थिंक–ट्यांकका रूपमा विकास गर्दै हुनुहुन्छ । त्यहाँ किताब, पुस्तकालयसम्बन्धी के–कस्ता व्यवस्था छन् ?
४२ वर्षअघि नेपालीहरूले नै स्थापना गरेको इतिहास बोकेको संस्था हो यो । यसलाई बिस्तारै दक्षिण एसियाकै अग्रणी थिंक–ट्यांकहरूको लहरमा उभ्याउने मेरो चाहना छ । आर्थिक–सामाजिक विकास, पर्यावरण, सुशासन र रणनीतिक विषयमा नीतिगत सुझाव दिन सक्ने सामर्थ्य बनाउने प्रयास छ । हामी गहिरो अनुसन्धान गरेर, विज्ञहरूबीच छलफल गराएर निचोड निकाल्ने काम गर्नेछौं । यस संस्थामा म दुई वर्षअघि अध्यक्ष भएको हुँ । त्यसमा एकै पटक तीन कुरा गर्नुपर्छ भन्ने मलाई लाग्यो । एउटा– यो संस्था भएको ठाउँलाई भौतिक रूपमै आकर्षक बनाउनुछ । सरकारी अनुदान होइन, उल्लेख्य निजी सहयोगबाट हामीले पहिलो चरणको भौतिक संरचना विस्तार सम्पन्न गरेका छौं । दोस्रो– मानव संसाधन । भवन मात्रै भएर हुँदैन, मुख्य प्राण भनेकै योग्य मान्छेहरूको उपलब्धता हो । त्यसैले सचिवालयमा डाइनामिक युवाहरू छान्दै, प्राज्ञिक र अनुभव भएका व्यक्तिलाई फेलोसिपको व्यवस्था गरेर संस्थामा अनौपचारिक रूपमा आबद्ध गराएका छौं । विदेशमा रहेका प्राज्ञिक नेपालीलाई पनि जोड्ने काम भइरहेको छ । तेस्रो– वित्तीय अवस्था र साझेदारी । आर्थिक रूपले सम्पन्न हुन हामीले अक्षयकोष स्थापना गरेका छौं । योग्य संस्थाहरूसँग दीर्घकालीन साझेदारी पनि सुरु गरेका छौं । अमेरिकाको इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युट र दक्षिण एसियाका थिंक–ट्यांकहरूसँग सहकार्य सुरु भएको छ ।
यो संस्थाको एउटा गहना पुस्तकालय पनि हो । तर, डिजिटल युगमा हामीले यसको प्रयोग फरक ढंगले गर्ने सोच बनाएका छौं । ठाउँ मात्रै ओगट्ने होइन, छरितो र प्रविधिमैत्री पनि बनाउनुछ । जोकोही गएर पुस्तकालयमा बस्न, पढ्न र निःशुल्क इन्टरनेट प्रयोग गर्न पाउने बनाउँछौं । अब जर्नलहरू सबै अनलाइन छन् । तर, ऐतिहासिक एवं कालजयी पुस्तक संग्रहहरूको छुट्टै ‘अर्काइभल’ व्यवस्था गर्ने योजना छ । जस्तै ः महेशचन्द्र रेग्मी, यदुनाथ खनाल, विश्वेश्वरप्रसाद कोइराला, हर्क गुरुङ, सरदार भीमबहादुर पाँडे आदिका दुर्लभ कृति किनेरै भए पनि पुस्तकालयमा राख्ने सोच छ । निकै पुराना दस्ताबेज ल्याएर हामीलाई बुझाउने क्रम पनि सुरु भएको छ । अस्ति भर्खर अस्ट्रेलियामा कार्यरत अर्थशास्त्री डा. प्रेमजंग थापाले २०३० सालताकाका पुराना रिपोर्ट दिनुभयो । यदुनाथ खनालका अप्रकाशित पाण्डुलिपि डा. जयराज आचार्यले दिँदै हुनुहुन्छ । यसरी डिजिटल लाइब्रेरी र बहुमूल्य ऐतिहासिक संग्रहको द्वैध उद्देश्यबाट हामी निर्देशित हुनेछौं ।

Page 8
समाचार

अझै खुलेन बारपाक सडक

- कान्तिपुर संवाददाता


गोरखा (कास)– वर्षाले अवरुद्ध बनेको बारपाक सडक खुलाउन मर्मत थालिएको छ । बारपाक सडक खण्डअन्तर्गत बालुवा बजारमा भत्किएको मोटरेबल पुल मर्मतको काम सुरु भएको छ ।
बिहीबारसम्म मर्मत सकेर गाडी ओहोरदोहोर गर्न मिल्ने बनाउने ११ किलो–भालुस्वाँरा सडक कार्यालयका इन्जिनियर राजेश यादवले बताए । ‘खोला डाइभर्ट गर्न लागेको स्थानीय मानेनन्,’ उनले भने, ‘बाढीले कटान गरेको मोटरेबल पुल र सडकको १५ मिटर क्षेत्रमा फिलिङ गरेर गाडी चल्न मिल्ने बनाउँछौं ।’ भेलले काटेको ठाउँमा ढुंगा–गिट्टी राखेर सवारी आवतजावत गर्न मिल्ने बनाउने उनले बताए ।
गत शुक्रबार दरौंदीको भेलले पुलसँग जोडिएको सडक कटान गर्दा बारपाक, लाप्राक, गुम्दा लगायतका उत्तरी क्षेत्रमा सडक मार्ग भएर आउजाउ जोखिम बनेको छ । वर्षाले राङरुङ–बारपाक सडक खण्डको पनि एक दर्जन ठाउँमा खसेको पहिरो पन्छाउने काम पनि जारी छ । बारपाक सडकअन्तर्गत नै बारपाक सुलिकोट गाउँपालिका–२ मान्द्रेमा करिब ५० मिटर सडक भासिएको छ । राङरुङबाट सडकमा खसेको पहिरो पन्छाउँदै बारपाकतर्फ अघि बढेको इन्जिनियर यादवले बताए । ‘सात–आठ ठाउँमा पहिरो छ, तलबाट सफा गर्दै जान्छौं,’ उनले भने । उक्त सडक खण्डमा पहिरो र हिलोले समस्या परेको बारपाकका स्थानीय जित घलेले बताए । पुल वारिबाट बारपाकसम्म फाट्टफुट्ट जिप चलेको उनले बताए । ‘बालुवासम्म गाडीमा आएकाहरू झोलुंगे पुलबाट वारि आउने गरेका छन्,’ उनले भने ।
पक्की पुलबाट आउजाउ ठप्प बनेपछि झोलुंगे गाउँ, बारपाक, लाप्राक र गुम्दाका स्थानीय समस्यामा परेका हुन् । बालुवामा मोटरेबल पुल भत्किएपछि नजिकै रहेको जीर्ण झोलुंगे पुलबाट पैदलयात्रीले दरौंदी पार गर्ने गरेको स्थानीय प्रदीप घलेले बताए । सात वर्षयता प्रयोगविहीन अवस्थामा रहेको बालुवाको झोलुंगे पुलमा स्थानीयले काठ बिछ्याएर हिँड्न मिल्ने बनाएका छन् । ‘घरमा बाल्न राखेको दाउरा, दरौंदीले बगाएको काठ लगेर पुलमा बिछ्याएका छौं,’ घलेले भने, ‘सामान्य मर्मत हो, सबै काठ फेर्न सकेनौं, खाली ठाउँमा काठ राखेर हिँड्न मिल्ने भएको छ ।’ उक्त पुल निकै जीर्ण बनेकाले स्थायी रूपमै मर्मतको आवश्यकता रहेको उनले बताए । पुलको झोलुंगे गाउँतर्फको जिपलाई २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको छ । लठ्ठाहरू पनि खिया लागेर जीर्ण बनेको घलेले बताए । ‘पुलको त बिजोग नै छ, मेलापात, गाईलाई घाँस पराल गर्न वारिपारि नगरी सुखै छैन, अरू बाटो भएन,’ उनले भने, ‘ठूलो दुर्घटना नहोस् भनेर हिँड्न मिल्ने मात्र बनाएका हौं ।’

समाचार

कार्यदलको दौडधुप

- कान्तिपुर संवाददाता

आइतबार ः बिहान ओलीपक्षीय नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल छोटै भए पनि एकताको सन्देश जाने गरी संयुक्त (ओली–नेपाल) वक्तव्य जारी गर्ने प्रस्ताव लिएर नेपाल निवास पुगे । तर नेपालले यस्तो वक्तव्य कार्यदल सक्रिय बनाएर त्यहाँ सहमति जुटाएपछि मात्र जारी गर्न सकिने जवाफ दिए । त्यसै राति आफ्नो सरकारी निवासमा प्रधानमन्त्री ओलीले नेपालपक्षीय नेता भीम रावलसँग भेट गरे । नेताहरूका अनुसार यही भेटमा ओली कार्यदल ब्युँताउन तयार भए ।
सोमबार ः डेढ महिनादेखि निष्क्रिय बनेको कार्यदलको बैठक सिंहदरबारमा बस्यो । कार्यदल सदस्यहरूले बैठकमा लामो समयदेखि अनौपचारिक तहमा भएका प्रयास र विषयवस्तुमा प्रारम्भिक छलफल गरे । कार्यदल सदस्यहरूले अनौपचारिक संवादमा गरेको सहमतिको प्रारम्भिक मस्यौदा बैठकमा औपचारिक रूपमा पेस गरियो । साँझ ओली र नेपालबीच फोन संवाद भयो ।
मंगलबार ः कार्यदलको दोस्रो बैठकमा सहमतिको प्रारम्भिक मस्यौदालाई एजेन्डा
बनाएर छलफल सुरु भयो । सदस्यहरूले धारणा राखे पनि कुनै बुँदामा सहमति जुटेन ।
बुधबार ः सहमति जुटाउन कार्यदलको बैठक बस्यो । बैठकपछि नेताहरूले धेरै विषयमा सहमतिनजिक पुगेको र अर्को दिन अन्तिम रूप दिइने प्रतिक्रिया दिएका थिए । बैठकपूर्व कार्यदल सदस्यहरूले रावललाई दुई नेता (ओली–नेपाल) बीच भेटको वातावरण बनाउन जिम्मा दिएका थिए । त्यसैअनुसार उनले कोटेश्वरस्थित नेपाल निवास पुगेर ओलीसँग भेटका लागि ‘कन्भिन्स’ गराए । साँझ ओली र नेपालबीच नक्सालस्थित एक होटलमा करिब एक घण्टा भेटवार्ता भयो । सुरुमा नेताहरू ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसहित वार्ता भयो जहाँ कार्यदल सदस्यहरूले आफूहरूको तहमा भएको प्रगतिको ब्रिफिङ गरेका थिए । पछि ओली र नेपाल एक्लाएक्लै वार्तामा बसे । त्यस दिन दुईपक्षीय नेताबीच सरकार र पार्टीमा शक्ति बाँडफाँटको विषयले प्रवेश पाए, सहमति जुट्न सकेन ।
बिहीबार ः नेताहरूले बुधबार दिएको प्रतिक्रियाका कारण यस दिनको बैठकलाई चासोपूवर्क हेरिएको थियो । बिहीबारको कार्यदल बैठकपूर्व नेपाल पक्षबाट कार्यदल संयोजक रावल र ओलीपक्षीय कार्यदल सदस्य विष्णु पौडेलबीच सिंहदरबारमा केहीबेर छलफल भयो । त्यसलगत्तै बसेको कार्यदल बैठक ठोस एजेन्डामा प्रवेश नगरी साँझसम्मका लागि स्थगित भयो । त्यसपछि ओलीपक्षीय सदस्यहरूले बालुवाटार र नेपालपक्षीय सदस्यहरूले सिंहदरबारमा छलफल गरेका थिए । आफ्नो समूहमा छलफलपछि कार्यदलको बैठकमा उनीहरू जुटे । तर पौडेल मन्त्रिपरिषद् बैठकमा गएपछि साँझको बैठक पनि एजेन्डामै प्रवेश नगरी टुंगियो । बैठकपछि कार्यदल सदस्य घनश्याम भुसालले दस दिनयता कार्यदलमा नयाँ केही प्रगति नभएको प्रतिक्रिया दिएका थिए । सहमतिलाई अन्तिम रूप दिने कोसिस भइरहेको दाबी भएकै बेला सदस्यहरूबाटै आएको फरक–फरक प्रतिक्रियाले संशय पैदा गरेको थियो ।

Page 9
अर्थ वाणिज्य

मनपरी भाडा असुल्दै उपत्यकाका सार्वजनिक सवारी

- विमल खतिवडा

(काठमाडौं) - बूढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालकी मञ्जु तामाङ बुधबार बिहान संयुक्त यातायात चढेर चाबहिल पुगिन् । त्यसबापत भाडा १५ रुपैयाँ बुझाइन् । दिउँसो फेरि चाबहिलबाट सोही रुटमा चल्ने संयुक्त यातायात चढेर घर फर्किइन् । बिहानझैं १५ रुपैयाँ बुझाउन लाग्दा सहचालकले २० रुपैयाँ भाडा मागे । १५ रुपैयाँले मानेनन् ।
एकै ठाउँको भाडा बिहान एउटा र दिउँसो अर्को लिने भन्दै उनले सहचालकसँग प्रतिवाद गरिन् । तर सहचालकले तेल (पेट्रोलियम पदार्थ) को मूल्य बढेको भन्दै आफूले भनेकै भाडा दिनुपर्ने अडान लिइरहे । अन्ततः उनले २० रुपैयाँ नै भाडा तिरिन् । सहचालकले गाडीमा चाबहिलबाट चढेका अन्य १५ जनाभन्दा बढी यात्रुसँग त्यति नै भाडा असुलेको तामाङले बताइन् ।
‘मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन, जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्दा भएकै छ,’ तामाङले भनिन्, ‘अघिपछि १५ रुपैयाँ नै भाडा तिरेर चाबहिल पुग्ने गरेकी थिएँ, निषेधाज्ञापछि सबै गाडी चल्न दिएसँगै मनपरी भाडा असुल्न थालिएको हो ।’
यो समस्या मञ्जुको मात्र होइन । अहिले उत्यकाका प्रायः रुटमा चल्ने सार्वजनिक सवारीले यात्रुसँग यसैगरी मनपरी भाडा असुलिरहेका छन् । असार २१ बाट जोरबिजोर प्रणाली हटाएर सबै सवारी सञ्चालन
खुला गरिएको छ । सार्वजनिक सवारी सञ्चालनमा आएसँगै तेलको मूल्य बढेको भन्दै यातायात व्यवसायीले आफूखुसी भाडा लिने गरेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि केही दिनयता यातायात व्यवसायीले बढी भाडा लिने गरेका गुनासा आउने गरेका छन् । बुधबार मात्र यात्रुसँग बढी भाडा लिने १० जनालाई नयाँ बसपार्क र कलंकीबाट पक्राउ गरिएको छ । ‘अहिले बढी भाडा लिएको भन्दै यात्रुका गुनासा आउने क्रम बढेको छ,’ महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्माले भने, ‘सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरेर पनि यात्रु ठग्ने गिरोहलाई नियन्त्रणमा लिने क्रम जारी छ ।’ बिहीबार चार र शुक्रबार सात जनालार्ई पक्राउ गरिएको उनले बताए ।
लामो दूरीका सवारी सञ्चालनमा नआए पनि अहिले उपत्यका भित्रिने र बाहिरिने निजी तथा भाडाका गाडीले यात्रुसँग दोब्बर भाडा असुलिरहेका छन् । तर यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको यात्रुहरूको गुनासो छ ।
एम्बुलेन्स चालकले समेत बार्गेनिङ गरी मनपरी रकम लिँदै यात्रु बोक्ने गरेको गुनासो पनि बढेको छ । उपत्यकाका भित्री रुटमा चल्ने सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु कोचेर बोक्ने गरेका गुनासा पनि उत्तिकै आएका छन् । स्वास्थ्य मापदण्डअनुसार गाडीमा सेनिटाइजर अनिवार्य राख्न भनिए पनि कमै सवारीले मात्र नियम मान्ने गरेको बताइएको छ ।
यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने सवारी चालकलाई तोकिएभन्दा बढी भाडा नउठाउन आग्रह गरिएको दाबी गरे । ‘यातायातको क्षेत्रमा चरम अन्याय भएको छ, यसमा दुईमत नै छैन,’ उनले भने, ‘निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको गर्‍यै गरियो, यस्तो अवस्थामा गाडी चलाउन सक्ने अवस्था छैन ।’ भाडा समायोजनका विषय पटक–पटक उठाउँदा पनि अझै कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ ।
कार्यालय समयमा यात्रुको चाप अघिपछिभन्दा केही बढी हुने गरेको छ । ‘कुनै पनि गाडीमा भीड छ भने यात्रु त्यो गाडीमा नचढिदिनुस्,’ सिटौलाले भने, ‘यस्ता कुरामा यात्रु आफैं पनि सचेत हुनुपर्छ ।’ उनका अनुसार अहिले ५० प्रतिशत मात्र सार्वजनिक सवारी सञ्चालनमा छन् । निषेधाज्ञामा घर गएका चालक आउने क्रम सुरु भएको र विस्तारै सवारीको संख्या बढ्दै जाने उनको भनाइ छ ।
भाडा समायोजनको निर्णय नभएकाले मनपरी भाडा कसैले पनि लिन नपाउने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् । ‘अहिले तोकिएभन्दा बढी भाडा उठाउन पाइन्न,’ उनले भने, ‘अनुगमन गर्दा मनपरी भाडा लिएको पाइए कारबाही गर्छौं ।’ विभागले अनुगमन गरिरहेको उनको दाबी छ ।

अर्थ वाणिज्य

नेपाल–भारत रेल सेवा सम्झौता संशोधन नेपालको रेललाई भारतबाट कार्गो ढुवानी सुविधा

- राजु चौधरी

(काठमाडौं) - झन्डै एक दशकपछिको प्रयासपछि नेपाल–भारत रेल सेवा सम्झौता संशोधन भएको छ । शुक्रबार भएको सम्झौताले नेपालको अन्तर्राष्ट्रिय व्यापार कार्गो ढुवानीलाई दीर्घकालीन रूपमा हित गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल भएर आउने कार्गो जुनसुकै कार्गो सेवा प्रदायक रेल सेवा कम्पनीबाट ल्याउन पाइने र नेपालको रेल सेवा प्रदायक संस्थाले पनि कार्गो ढुवानी गर्न पाउने सहमति भएको छ ।
नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहान्तीको नेतृत्वमा आयोजित भर्चुअल समारोहमा कूटनीतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको लेटर अफ एक्सचेन्ज आदानप्रदान गरियो ।
‘१२ वर्षसम्मको छलफल एवं वार्तापछि नेपाल–भारत रेल सेवा सम्झौता संशोधन भएको छ । ५१ वटा विभिन्न प्रावधान संशोधन भएका छन् । केही प्राविधिक छन्, केही सामान्य,’ वाणिज्य तथा आपूर्ति सचिव भट्टराईले भने, ‘यसले नेपालको अन्तर्राष्ट्रिय व्यापार र कार्गो ढुवानीलाई दीर्घकालीन रूपमा हित गर्नेछ । आयात–निर्यात व्यापारले पनि उचाइ लिनेछ ।
यो सम्झौता १० वर्षका लागि कायम हुनेछ ।’
तेस्रो मुलुकसँग हुने नेपालको व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गरिएको जनाइएको छ । भारतका निजी
रेल सेवा प्रदायकहरूले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा
दिन सक्ने व्यवस्थासमेत
गरिएको छ ।
‘यसअघि निश्चत रेल सेवाबाट मात्रै आयात गर्न पाउने प्रावधान थियो । संशोधनले नेपाल भएर आउने कार्गो जुनसुकै कार्गो सेवा प्रदायक रेल सेवा कम्पनीबाट ल्याउन पाइनेछ,’ सचिव भट्टराईले भने, ‘यसले प्रतिस्पर्धा बढ्नेछ । सामान समयमै नेपाल आइपुग्दा लागत कम हुनेछ ।’ लागत कम हुँदा सर्वसाधारणले पनि उचित मूल्यमा वस्तु खरिद गर्न सक्नेछन् । स्वदेशी व्यवसायीहरूका लागि पनि यो राम्रो अवसर हुने मन्त्रालयले जनाएको छ । नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता/ हल्दियासम्म रेल सेवा दिन सक्ने गरी सम्झौता संशोधन भएको छ । हाल नेपालको वीरगन्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेलसम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा विस्तार गर्दै जाने पनि सहमति भएको छ ।
‘नेपाल आउने कार्गो भारतको भन्सारमा एक पटक परीक्षण गरिएको लक लागेपछि सोझै नेपाल आउन पाउनेछ । यसले आयातलाई थप सहज बनाउने अपेक्षा छ,’ भट्टराईले भने । अहिलेको परिमार्जनले सूचित आदेश जारी गरेपछि नयाँ भन्सार बिन्दुबाट ढुवानी गर्न सक्ने प्रक्रियागत सहजीकरणसमेत हुनेछ । भारतीय भन्सारबाट नेपाल आउने सामान छुटाउन साबिकमा भारतमै गएर शुल्क बुझाउनुपर्ने व्यवस्था थियो । अब नेपालकै वाणिज्य बैकबाट सोझै भुक्तानी गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । ‘यस संशोधनले दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप सुदृढ हुने विश्वास छ,’ भट्टराईले भने ।
पूर्ववाणिज्य सहसचिव रवि सैंजूले पनि नेपाल–भारत रेल सेवा सम्झौता संशोधन नेपालका लागि माइलस्टोन भएको दाबी गरे । अहिलेको संशोधनले प्रतिस्पर्धी बनाउन सहयोग पुग्नेउनको भनाइ छ । ‘रेलवे सञ्चालन, पेमेन्ट, कार्गोलगायतमा धेरै सहजीकरण हुनेछ,’ उनले भने, ‘तर सुविधा लिन सरकार त्यहीअनुसार तयार हुनुपर्‍यो । सरकारले आन्तरिक क्षमता बिस्तार गर्नुपर्‍यो, नभए चीनको रुट खोलेजस्तो मात्रै हुनेछ ।’
यसैबीच, नेपाल चेम्बर अर्फ कमर्सले पनि नेपाल–भारत रेलवे एग्रिमेन्टको स्वागत गरेको छ । सम्झौताले नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने जनाउँदै नेपालको पारवहन लागतमा भएको अत्यधिक व्ययभारले नेपालको वैदेशिक व्यापार प्रभावित हुने गरेकोमा अब केही कटौती हुने चेम्बरको विश्वास छ ।
‘यसले नेपाली उत्पादनका मालवस्तु प्रतिस्पर्धी हुने विश्वास लिएका छौं, मालवाहकको ढुवानीमा सहजता आउने भएकाले नेपालको व्यावसायिक लागत कमी हुन जानेछ,’ चेम्बरले भनेको छ, ‘यसबाट नेपालको निकासी व्यापार बढ्ने र आयातमा समेत सहजता भई उपभोक्तालाई राहत हुनेछ ।’

अर्थ वाणिज्य

बाढीबाट क्षतिबापत दुई अर्ब बिमा दाबी

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मुलुकभर गएको बाढीपहिरोले पुर्‍याएको क्षतिबापत करिब २ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको छ । यो अविरल वर्षा सुरु भएदेखि यही असारसम्मको तथ्यांक हो । यो अवधिमा २० वटै निर्जीवन बिमा कम्पनीमा परेको दाबी हो ।
बिमा समितिका अनुसार सो अवधिमा कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको बिमा दाबी भएको छ । सो अवधिमा सम्पत्ति बिमा, मोटर बिमा, कृषि तथा पशुपन्छी, इन्जिनियरिङ र विविध बिमाअन्तर्गत बिमितबाट ३ सय ३१ वटा दाबी परेका छन् ।
सबै निर्जीवन बिमा कम्पनीमा परेका कुल दाबीमध्ये १ सय ४१ वटा सम्पत्ति बिमाका छन् । ती दाबी उपर ६९ करोड ३६ लाख ४६ हजार रुपैयाँ बिमा दाबी भएको छ । मोटर बिमाका ३३ वटा दाबीमा ४ करोड ७५ लाख ८९ हजार, सामुद्रिक बिमाका ५ वटा दाबीमा १९ लाख ८१ हजार, कृषि बिमाका ६ वटा दाबीमा १ करोड ६२ लाख ५१ हजार, पशुपन्छी बिमाका ५ वटा दाबीमा २ करोड ३८ लाख ५९ हजार रुपैयाँ र विविधतर्फका २ वटा दाबीमा १ करोड ५५ लाख ५१ हजार रुपैयाँ माग भएको समितिले जनाएको छ ।
सोही अवधिमा इन्जिनियरिङ बिमाअन्तर्गत १ सय ७ वटा दाबी परेका छन् । यसमध्ये निर्माणाधीन आयोजना बिमाको मागदाबी ९० करोड ७ लाख ३४ हजार, निर्माण सम्पन्न आयोजनाको ११ करोड ७० लाख, हेभी इक्विपमेन्ट बिमाको ८ करोड ८४ लाख ३६ हजार र अन्य शीर्षकमा १ करोड ५३ लाख ३ हजार रुपैयाँ बराबरको बिमा दाबी परेको समितिको तथ्यांक छ ।

अर्थ वाणिज्य

सेयर कारोबार शुल्क फेरि घटाइँदै

- कान्तिपुर संवाददाता

(काठमाडौं) - सेयर कारोबार गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने शुल्क बढी भएको भन्दै फेरि घटाउने तयारी भएको छ । यसबारे नेपाल धितोपत्र बोर्डले अध्ययन थालेको छ । बजारमा कारोबार रकम बढेको अवस्थामा हालको ब्रोकर शुल्क महँगो भएकाले कसरी कम गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।
‘यसअघि कारोबार रकममा पनि उल्लेख्य सुधार भएका बेला त्यसबारे अध्ययन थालिएको हो,’ उनले भने, ‘पछिल्ला केही दिनयता कारोबार रकममा कमी आएको छ । सोही कारण कारोबारको अवस्था हेर्दै छौं ।’
बोर्डले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरोकारवालाहरूसँग सुझाव संकलन गरेको छ । सोही क्रममा लगानीकर्ताले ब्रोकर कमिसन घटाउन सुझाएका छन् ।
सात महिनाअघि गत पुस ११ मा धितोपत्र बोर्डले सेयर किनबेच गर्दा ब्रोकरलाई तिर्नुपर्ने कमिसन करिब ३३ प्रतिशत घटाएको थियो । अन्य राष्ट्रको तुलनामा नेपालमा सेयर कारोबार शुल्क महँगो भएको भन्दै लगानीकर्ताले घटाउन माग गरेपछि अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए । सोही निर्देशनपछि बोर्डले शुल्क घटाएको थियो । त्यसपछि बजारमा कारोबार रकम धेरैले बढ्न थालेपछि फेरि कमिसन घटाउने गृहकार्य सुरु भएको हो । पछिल्लो समय सेयर बजारमा ८५ देखि ९० प्रतिशतसम्म कारोबार अनलाइनमार्फत हुने गरेको, दैनिक कारोबार परिमाणमा बढोत्तरी हुँदै गएकोलगायत कारण धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पुनरावलोकन गरी समसामयिक बनाइनुपर्ने अध्यक्ष ढुंगानाले बताए ।
हाल सेयर खरिदबिक्री गर्दा लगानीकर्ताले कारोबार रकमको ०.२७ देखि ०.४ प्रतिशत रकम ब्रोकरलाई शुल्क तिर्नुपर्छ । यसअघि ०.४ देखि ०.६ प्रतिशतसम्म शुल्क लाग्ने व्यवस्था थियो । संगठित संस्थाको सेयर कारोबारमा ब्रोकरले ५० हजारसम्मको कारोबारमा ०.४०, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० र एक करोड रुपैयाँभन्दा माथिका सबै कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ ।
सरकार वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्रको खरिदबिक्री कारोबारमा पनि शुल्क तोकिएको छ । यसअनुसार ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.१०, ५
लाखदेखि ५० लाखसम्म ०.०५ र ५० लाखभन्दा माथिका सबै कारोबारमा ०.०२ प्रतिशत शुल्क लिन पाउने व्यवस्था छ ।
सेयर कारोबार शुल्क घटाउने विषय बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उल्लेख छ । यस्तै अक्सन मार्केट विकास तथा सञ्चालन, ऋणपत्र बजारको बजारको एकीकृत विकास तथा विस्तार, केन्द्रीय निक्षेप कम्पनी र राफसाफ गर्ने निकाय छट्टै रहने व्यवस्थाबारे पनि अध्ययन गर्ने बोर्डको योजना छ । ‘वित्तीय तथा अर्थतन्त्रसँग सम्बन्धित नीति निर्माण अनुसन्धान गर्ने संस्था तथा विश्वविद्यालयसँग सम्बन्ध विकास गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन तथा सुधार सम्बन्धमा नीतिगत अध्ययन अनुसन्धान गर्ने,’ बोर्डले भनेको छ ।
संस्थागत सुशासन, पारदर्शिता तथा परिपालना तथा नियमन क्षमता सबलीकरण र पुँजी बजारसम्बन्धी केन्द्रीय तथ्याक बैंकको विकास तथा सुदृढ व्यवस्थापन गर्ने योजना पनि बोर्डले अघि बढाउने भएको छ । बोर्डको प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउने र बोर्डको लेखा प्रणाली तथा अभ्यासलाई अन्तर्राष्ट्रियस्तरको बनाउन बोर्डको लेखा निर्देशिका तयार गर्ने पनि बोर्डको योजना छ ।

अर्थ वाणिज्य

शिक्षा र स्वास्थ्य सुधार गर्न विश्व बैंकको साढे ११ अर्ब

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि विश्व बैंकको सञ्चालक समितिले
करिब साढे ११ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) लगानी स्वीकृत गरेको छ । सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम र नेपालको स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्थापन कार्यदक्षता अभिवृद्धिका लागि ५–५ करोड अमेरिकी डलर स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।

अर्थ वाणिज्य

बजारमा सामसङ ग्यालेक्सी एम ३२

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सामसङले हालै नेपाली बजारमा एम सिरिजअन्तर्गतको ग्यालेक्सी एम ३२ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त स्मार्टफोनमा ९० हर्ज रिफ्रेस रेट छ । साथै ग्यालेक्सी एम ३२ मा ६.४ इन्चको एफएचडी डिस्प्ले, ६ हजार एमएएचको ब्याट्री, २५ वाटको चार्जिङलगायत विशेषता छन् । यो स्मार्टफोन खरिदमा १५ वाटको छिटो गतिमा चार्ज हुने चार्जर प्रदान गरिने कम्पनीले जनाएको छ । यसमा थप ६४ मेगापिक्सेल ब्याक र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । ग्यालेक्सी एम ३२ दुई भेरिएन्टमा उपलब्ध छन् । ४ जीबी र्‍यामको २४ हजार ९ सय ९९ र ६ जीबी र्‍यामको २७ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

अर्थ वाणिज्य

सामसङ ग्यालेक्सी ए २२ पनि सार्वजनिक

- कान्तिपुर संवाददाता

यसैबीच सामसङले आफ्नो नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी ए २२’ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसङले ‘ए’ सिरिजअन्तर्गत ए २२ बजारमा ल्याएको हो । ए २२ मा ४८ मेगा पिक्सेल क्यावड क्यामेरा, ९० हर्ज रिफ्रेस रेट र ६.४ इन्चको अल्ट्रा डिस्प्ले नवीन विशेषता छन् । साथै यसमा ५ हजार एमएएच ब्याट्री, १५ वाटको फास्ट चार्जिङ, ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज छ । यसको बजार मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

Page 10
खेलकुद

'स्वर्णिम जुम्ल्याहा’ जोडी

- एपी

(लन्डन) - रोबर्टो मान्चिनी र जियानलुका भियालीलाई अझै पनि ‘स्वर्णिम जुम्ल्याहा’ भन्ने गरिन्छ । यो खेलाडी बेलाको कुरा भयो । अब दुवै प्रशिक्षक भइसके, त्यो पनि इटालियन राष्ट्रिय टिमको । उनीहरूको साझेदारी अझै उत्तिकै जमिरहेको छ । जतिबेला वेम्बलीमा भएको युरो २०२० को सेमिफाइनलमा इटालीले स्पेनलाई हरायो, मान्चिनीले भियालीलाई अँगालो मार्न बिर्सेनन् । मान्चिनी इटालीको राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक हुन् । उनकै नेतृत्वमा टिमको पुनर्जागरण चलिरहेको छ ।
उनी भन्छन्, ‘भियाली र मेरो चिनजान अहिलेको होइन, धेरै पुरानो छ । त्यसैले यो सम्बन्ध अरूभन्दा फरक छ । हामी सँगसँगै केटाकेटीमा हुर्केजस्तै हो त भन्दिनँ तर, हाम्रो सम्बन्ध लगभग त्यस्तै हो । हामीले धेरै वर्ष सँगै बिताएका छौं, त्यसैले यो सम्बन्ध खाली साथी–साथीको मात्र हो भन्ने होइन, त्योभन्दा बढी हो । उनी मेरा लागि दाजुभाइजस्तै हुन् ।’ वेम्बलीमै यी दुई प्रशिक्षकले आफ्नो जीवनको उतारचढाव दुवै देखेका छन् ।
सन् १९९२ बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग फाइनलमा साम्पडोरियालाई हराउँदा खेल वेम्बलीमै भएको थियो । मान्चिनी र भियाली दुवै साम्पडोरियाका खेलाडी थिए । इटालियन यस क्लबका लागि उनीहरूले सँगसँगै ८ वर्ष खेले । त्यो फाइनल उनीहरूको साम्पडोरियाका लागि अन्तिम खेल
रह्यो । उनीहरू साम्पडोरियाको बसाइका क्रममा एक लिग उपाधि, चार इटालियन कप र एक विनर्स कप जिते । यो सफलताकै समय रह्यो ।
पछि वेम्बलीमै उनीहरूले सफलता चाखे । भियालीले सन् २००० मा चेल्सी व्यवस्थापकका रूपमा एफए कप जिते । सन् २०११ मा मान्चिनीले यही उपाधि म्यानचेस्टर सिटीका लागि जिते । सन् २०१९ मा यो जोडी फेरि एकै स्थानमा आइपुगे, जतिबेला मान्चिनीले भियालीलाई इटालीको टिमका प्रमुख प्रतिनिधि नियुक्त गरे । त्यसको ठीकअगाडि मात्र भियालीले आफूले क्यान्सरविरुद्धको युद्ध जितेको घोषणा गरेका थिए ।
उनीहरूबीच केही असमानता छन् । जस्तो, भियाली प्रायः चुपचाप र शान्त रहन्छन् । मान्चिनीले पनि कहिलेकाहीं एकाएक आफ्नो उग्र रूपमा देखाउने गर्छन् । इटालीका लागि दुवै एकै स्थानमा आएपछि त्यसले खेलाडी, प्रशिक्षक र सहयोगी सबैलाई फाइदा नै गरेको छ । यस कारण यी
दुई विपरीत स्वभावको प्राकृतिक मिश्रण नै हो । उनीहरू जतिबेला सँगै हुन्छन्, त्यतिबेला हरदम काम गरिरहेकै हुन्छन् ।
सन् २०१८ को विश्वकपमा इटाली छनोट हुन नै सकेन । यो इटाली जत्तिको फुटबल देशका लागि सहनै नसकिने प्रदर्शन हो । केही सञ्चारमाध्यमले त्यसलाई इटालीको इतिहासमै आएको प्रलयसमेत भनेका छन् । आखिरमा इटाली चारपल्ट विश्वकप जितेको टिम हो । इटालीले प्रत्येकपल्ट विश्वकप वा कुनै ठूलो प्रतियोगिता खेल्छ भने प्रत्येकपल्ट यो उपाधिका लागि प्रत्याशी हुन्छ । विश्वकप छनोटको पीडादायी असफलता पाएको तीन वर्ष पनि भएको छैन, मान्चिनी र भियालीको जोडीले इटालीलाई युरो २०२० को फाइनल पुर्‍याएका छन् ।
यति कम समयमै इटाली फेरि आफ्नो पुरानो छविमा फर्केको छ । यो पुरानो लय समातेको प्रमाण हो । इटालीले सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा पराजित गरेको हो । मंगलबार रातिको त्यो खेललगत्तै मान्चिनी र भियालीले जुन अँगालो मार्ने काम गरे, त्यो अँगालोमात्र थिएन । यो खुसीयाली साटासाट गर्ने काममात्र पनि थिएन । यो एक खेल जितेपछि प्राप्त खुसीयालीमात्र होइन । यसको अर्थ त धेरै–धेरै छ ।

खेलकुद

भविष्यप्रति स्पेन ढुक्क

- कान्तिपुर संवाददाता

एपी (म्याड्रिड) - ठूलो प्रतियोगिताको ठूला खेलमा पराजित भएपछि कुनै पनि देशको फुटबल भविष्यलाई लिएर प्रश्न उठ्ने गर्छ । तर स्पेनी फुटबलले सायद जवाफ पाएको छ, पेड्री गोन्जालेजका रूपमा । उनी भर्खर १८ वर्षका भए । युरो २०२० मा उनी स्पेनी टिमको लगभग केन्द्रमै रहे । प्रत्येक खेलमा उनले सुरुदेखि खेल्न पाए । रक्षापंक्ति र अग्रपंक्तिलाई जोड्ने काम उनले मज्जाले गरे । उनको खेल स्तरीय थियो नै । उनमा नेतृत्व गर्नसक्ने गुण पनि देखिएको छ ।
यस्तो तिनै किशोर खेलाडीको प्रदर्शनमा लगभग टिकेर स्पेन युरो २०२० को सेमिफाइनल पुग्यो । स्पेनी प्रशिक्षक लुइस एनरिके पनि पेड्रीको प्रदर्शनबाट खुसी छन् । भन्छन्, ‘मैले उनको जत्तिको खेल अरूबाट देखिनँ । उनी भर्खर १८ वर्षका भए, तर युरो जत्तिको ठूला प्रतियोगितामा उनको प्रदर्शन अब्बल दर्जाको रह्यो ।’ अब त उनको तुलना सुरु भएको छ । त्यो अरू कोही होइन, आन्द्रेस इनिस्टासँग । यी इनिस्टा पनि कम्तीमा त थिएनन् ।
इनिस्टाकै खेल मदतमा त हो, स्पेनले सन् २००८ र २०१२ को युरोमात्र जितेन, २०१० को विश्वकप पनि जितेको थियो । एनरिकेले यतिसम्म भनेका छन्, ‘इनिस्टाको भन्दा पनि पेड्रीको खेल राम्रो लाग्यो ।’ पेड्री प्रायः शान्त देखिनछन्, आफ्नै खेलमा खुसी देखिन्छन् । स्पेनी मध्यपंक्तिलाई गति दिन उनको खेल खुबै सुहाउँछ । बुधबारसम्म पहिलो सेमिफाइनलअगाडिको खेल आधार मान्ने हो भने उनी युरो २०२० मा सबैभन्दा बढी दूरी तय गर्ने खेलाडी हुन् ।
उनको पासको सटिक पन उत्तिकै छ । त्यसैले त उनले इटालीविरुद्ध ठ्याक्कै मिलेको ६५ पास खेले । यसमा उनको सफलता प्रतिशत थियो ६५ प्रतिशत । उनलाई मैदानमा सहयोग गर्ने अर्का एक खेलाडी छन् । ती हुन्, २३ वर्षीय डानी ओल्मो । त्यो त इटालीविरुद्ध टाइब्रेकरमा उनी चुके, त्यसैले स्पेन ४–० ले पराजित रह्यो । तर स्पेनले तय गरेको सेमिफाइनल यात्राका सबैभन्दा मुख्य खेलाडीमा उनी पनि थिए ।
गोलका लागि प्रयास गर्ने खेलाडीमा उनी समग्रमै अगाडि छन् । अनि गोलमा सहयोगी भूमिका खेल्नेमा दोस्रो स्थानमा पर्छन् । स्पेनका लागि गतिलो खेल्नेमध्ये एक फेरान टोरेस पनि रहे । उनी २१ वर्षका मात्र भए, उनले यही प्रतियोगितामा स्पेनका लागि दुई गोल गरे । युरो २०२० खेल्न मैदानमा उत्रँदा स्पेनमाथि चर्को दबाब थियो । अझभन्दा स्पेनले यत्तिको गर्न सक्छ भन्दा प्रश्न गर्ने उत्तिकै थिए । धेरैलाई टिममाथि शंका थियो ।
यसमा आधार थियो, आखिरमा स्पेन सन् २०१२ को युरोयता ठूला प्रतियोगिताको अन्तिम १६ को माथि पुगेको थिएन । त्यो युरो संस्करण त्यही थियो, जसमा इनिस्टासँगै जाभी हर्नान्डेज जस्ता खेलाडी थिए । अब स्पेनले सन् २०२२ को विश्वकपमा नजर लगाउन सक्छ, यिनै युवा खेलाडीको भर परे । प्रशिक्षक एनरिकेले त्यसैले ठीक भनेका छन्, ‘युरो २०२० मा हामीले जे जत्ति गर्न सक्यौं, त्यसमा खुसी मनाएकै राम्रो ।’
उनले थपेका छन्, ‘हामीसँग धेरै युवा खेलाडी छन् र तिनले अहिलेको युरो २०२० मा गतिलो योगदान दिएका छन् । उनीहरूको खेल हेर्दा कोही कसैले किन खेलाडीको उमेरबारे हिसाब गर्छन् जस्तो लाग्छ । पक्कै युरोको अन्त्यमा हामी प्रतियोगिताबारे खुसी हुनुपर्छ ।’ युरो खेलेका ६ खेलाडी टोकियो ओलम्पिक खेल्न टिममा छन् । यस्तोमा भन्न कर लाग्छ, भविष्यलाई लिएर स्पेन ढुक्क भए हुन्छ, धेरै चिन्ता लिइरहनुपर्दैन ।

खेलकुद

प्लेयर्स टु वाच

- कान्तिपुर संवाददाता

केयल वाल्कर, इंग्ल्यान्ड
प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका राइटब्याक केयल वाल्करले युरो २०२० मा इंग्ल्यान्डको फाइनल यात्रामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ३१ वर्षीय उनले ५ खेलमा ४८० मिनेट मैदानमा रहँदै ३७ पल्ट बल ‘रिकोभर’ गरेका छन् । कठिन परिस्थितिमा १३ पल्ट बल क्लियर गरेका उनले एकपल्ट ‘ब्लक’ गरेका छन् । प्रतिघण्टा ३२.८ किमिसम्म दौडिएका उनको ९१ प्रतिशत पास सफल भएको छ । उनले ‘थ्र लायन्स’का लागि एक दशकयता ६० खेल खेलिसकेका छन् ।

लुक श, इंग्ल्यान्ड
म्यानचेस्टर युनाइटेडका लेफ्ट–ब्याक लुक शको प्रदर्शन पनि युरो २०२० मा उत्कृष्ट रहेको छ । उनले ५ खेलमा ४५५ मिनेट मैदानमा रहेर २० पल्ट बल रिकोभर गरेका छन् । आठपल्ट ट्याकल गरेका उनले कठिन अवस्थामा पाँचपल्ट बल क्लियर गरेका छन् भने एकपल्ट ‘ब्लक’ गरे । प्रतिघण्टा ३१ किमिसम्म दौडिएका उनको ८५ प्रतिशत पास सफल भएको छ । २५ वर्षीय उन सन् २०१४ मै इंग्ल्यान्डको राष्ट्रिय टिममा छनोट भए पनि हालसम्म १५ खेलमात्रै खेलेका छन् ।

खेलकुद

खल्लो सुरुआत, हेर्नलायक फाइनल कोपा अमेरिका

- कान्तिपुर संवाददाता

एपी (रियो दी जेनेरियो) - यसपल्टको कोपा धेरै खल्लो रह्यो । धेरैको विरोधपछि यो प्रतियोगिता भएको थियो । धेरैले प्रतियोगिताको समय र परिस्थितिलाई निको मानेनन् । तर यही कोपाले त्यस्तो फाइनल साइत जुराएको छ, जसको खेल हेर्न सबै लालयित हुने गर्छन् । फाइनल आफैंमा हेर्नलायक हुनेछ । शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) ब्राजिल र अर्जेन्टिनाबीच फाइनल हुनेछ । यसको नतिजाले दक्षिण अमेरिकी च्याम्पियन दिनेछ । फेरि फाइनल त्यहाँ भइरहेको छ, जहाँ विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित स्थल मानिन्छ ।
त्यो भनेको ऐतिहासिक माराकाना स्टेडियम हो । उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने भएपछि त यसपल्ट कोपाले सुखद अन्त्य नै पाएको छ । नत्र प्रतियोगिता सुरु हुन केही दिनअगाडिसम्म यसबारे व्यापक अन्यौल थियो । अन्तिम क्षणमा यो ब्राजिलमा हुने तय भएको थियो, जुन देशलाई कोरोना भाइरस संक्रमणको महामारीले सबैभन्दा बढी पिरोलेको छ । अझै पनि ब्राजिलमा महामारी आक्रान्त उस्तै छ, हराएको छैन ।
युवा स्टार नेयमरको ब्राजिल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । उसलाई फेरि उपाधि जित्नबाट छेक्ने काम लियोनल मेसीको अर्जेन्टिनाले गर्नेछ । उत्तिकै रमाइलो तथ्य के छ भने यी दुई फुटबलका परम्परागत महाशक्तिले संयुक्त रूपमा सातपल्ट विश्वकप जितेका छन् भने २३ पल्ट कोपा अमेरिका । सन् १९९३ यता अर्जेन्टिनाले कोपा जित्न सकेको छैन । मेसीले न त आफ्नो देशका लागि कुनै ठूलो उपाधि हात पार्न सकेका छन्, जत्तिकै ठूलो स्टार भए पनि । मेसीले तीनपल्ट कोपा अमेरिकाको फाइनल खेलिसकेका छन्, २००७, २०१५ र २०१६ मा । तिनै मेसीले सन् २०१४ को विश्वकप फाइनल खेलेको थियो । सबै अवसरमा अर्जेन्टिनाले मार खाएको छ । अझ जर्मनीविरुद्धको विश्वकप फाइनल त अर्जेन्टिनाले यही प्रसिद्ध माकाराना स्टेडियमै त गुमाएको हो । अर्जेन्टिनाले यसपल्ट फाइनल पुग्न सेमिफाइनलमा कोलम्बियालाई टाइब्रेकरमा पराजित गरेको थियो, ३–२ को स्कोरले । त्यसलगत्तै मेसीले भनेका छन्, ‘मैले आफ्नो खेलाडी जीवनमा सबैभन्दा बढी चाहेको भनेकै देशका लागि उपाधि जित्ने हो । अहिले हाम्रो उद्देश्य आकास छुने छ । फाइनल प्रवेश गर्ने हाम्रो पहिलो उद्देश्य त पूरा भएको छ । अहिले हामीले साँचेको उद्देश्य त्योभन्दा ठूलो छ । त्यो हो, उपाधि नै जित्ने ।’ ब्राजिलले सन् २०१९ का कोपा जित्दा नेयमर टिममा थिएनन् चोटका कारण । ब्राजिलले यसपल्ट फाइनल पुग्नका लागि पेरुलाई १–० ले हराएको थियो ।
त्यो खेललगत्तै नेयमरले ख्यालख्यालमा गम्भीर भएर भनेका थिए, ‘हामी फाइनलमा अर्जेन्टिना प्रतिद्वन्द्वी भएको चाहन्छौं तर त्यसमा जित भने ब्राजिलकै हुनेछ । यसपल्टको कोपा सुरुमा अर्जेन्टिना र कोलम्बियाले गर्ने भएको थियो, तर यी दुई सहआयोजकलाई त्यो अवसर दिइएन, अवसर बनेन पनि । त्यस स्थितिमा प्रतियोगितालाई लिएर सबैभन्दा बढी चिन्ता पोख्नेमा नेयमर आफै एक थिए । प्रतियोगिता सुरु हुनु दुई साताअगाडि मात्र ब्राजिलमा हुने टुंगो लागेको थियो ।
मेसी र नेयमर दुवै मन मिल्ने साथी हुन् । उनीहरूले सन् २०१५ मा बार्सिलोनाका लागि युरोपेली च्याम्पियन्स लिग जिते । सन् २०११ मा पनि उनीहरू प्रतिद्वन्द्वी थिए, जतिबेला बार्सिलोनाले क्लब वर्ल्डकपमा ब्राजिलको सान्तोसलाई ४–० ले हराएको थियो । अर्जेन्टिना र ब्राजिलबीच सयपल्ट भन्दा बढी खेल भइसकेको छ । यी खेलमध्ये फाइनलकै रूपमा भएको भने चार अवसरमा हो । त्यसमध्ये सन् १९३७ मा अर्जेन्टिनाले दक्षिण अमेरिकी च्याम्पियनसिप जित्न ब्राजिललाई २–० ले हराएको थियो ।
यो प्रतियोगिता कोपाकै पुरानो स्वरूप हो । त्यसपछिका तीन फाइनल भने ब्राजिलको पक्षमा रह्यो । सन् २००४ को कोपा फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । त्यो खेलको नियमित समयमा अन्तिम प्रहारका रूपमा ब्राजिलका लागि एडरिनोले गोल गरे र खेल २–२ को बराबरीमा गएको थियो । त्यसको एक वर्षपछि जर्मनीमा भएको कन्फेडेरेसन कपमा यी दुई टिम भिडे, नतिजा ब्राजिलको पक्षमा ४–१ रह्यो ।
त्यसमा एडरिनोले गज्जब खेले । उनलाई साथ दिने अरू प्रमुख खेलाडी थिए काका र रानोल्डिन्हो । सन् २००७ को कोपामा अर्जेन्टिना उपाधिका लागि निकै बलियो प्रत्याशी थियो, तर मेसीको सपनालाई निर्दयीपूर्वक चकनाचुर पार्दै ब्राजिल फाइनलमा ३–० ले विजयी रह्यो । यसअघिको कोपामा पनि ब्राजिलले नै अर्जेन्टिनालाई २–० ले हराएर चुनौती समाप्त पारेको थियो । त्यस सेमिफाइनल जितमा ग्याब्रियल जेसस र रोबर्टो फिर्मिनोले गोल गरे ।
यसपल्ट जेससले प्रतिबन्धका कारण फाइनल खेल्ने छैनन् । फिर्मिनोले लुका पाक्वेटाका लागि पहिलो रोजाइका खेलाडी हुनुको हैसियत गुमाएका छन् । अर्जेन्टिनालाई विश्वास रहनेछ, उसले १५ औं पल्ट कोपा जित्नेछ र सबैभन्दा बढी १५ पल्ट उपाधि जितेको कीर्तिमानका लागि उरुग्वेका बराबरी गर्न सक्नेछ । ब्राजिल भने १० औं पल्ट दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने दाउमा हुनेछ । दुःख खाली एउटै तथ्यमा हुनेछ, स्वास्थ्य आचारसंहिताका कारण माराकानामा दर्शक भने हुने छैनन् ।