You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

कारागारभित्रका महिला

व्यक्तिगत सरसफाइलाई पानी र शौचालयको तनाव
महिनावारी हुँदा सेनिटरी प्याड र औषधिको अभाव
- मेनुका ढुंगाना,रूपा गहतराज,सुम्निमा चाम्लिङ,ज्योति कटुवाल,सरिता श्रेष्ठ,सुनिता बराल

(अछाम), (नेपालगन्ज), (इटहरी), (दैलेख), (धादिङ) र (महोत्तरी)
बाजुराको बुढीगंगा–९ की ३२ वर्षीया तारा बडुवालले अछामको मंगलसेन कारागारमा ३८ महिना काटिसकेकी छन्, तर महिनाका चार दिन उनका लागि प्रलय नै लाग्छन् । महिनावारीको असह्य पीडाका पछाडि प्रजनन स्वास्थ्यमा कतै समस्या छ जस्तो लाग्छ । तर, स्वास्थ्य परीक्षणका लागि  प्रशासनलाई भन्न संकोच मान्छिन् । कारण ? ‘समस्या सोध्ने सबै पुरुष मात्रै हुन्छन्, महिलाहरू कोही आउँदैनन् । अनि यस्ता कुरा भन्न लाज लाग्छ ।’ महिलाहरू बोल्न धक मान्छन्, त्यसैले उनीहरूलाई महिनावारी हुँदा सेनिटरी प्याड त परै जाओस्, सुग्घर शौचालय पनि छैन ।
कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका जेलमा ६ सय ९९ महिला कैदी र ६ सय १५ जना महिला थुनुवा छन्, समस्या उस्तै छ । कारागारमा रहेका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य संवदेनशीलता बुझ्ने संयन्त्र महिलामैत्री छैन । कतिपय यौन तथा प्रजनन स्वास्थ्यका समस्यासँग जुधिरहे पनि उपचारबाट वञ्चित छन् । तर उनीहरूले आफ्ना समस्या खुलेर प्रशासनलाई भन्न सक्दैनन् । विभिन्न कारागारमा रहेका महिलाहरूले कान्तिपुरका पत्रकार महिलाहरूसँग भने, ‘महिलासम्बन्धी समस्या कसरी पुरुषहरूसँग भन्नु ? अझ महिनावारी हुँदै छु, सेनिटरी प्याड ल्याइदिनोस् भनेर कसलाई भन्ने ? तपाईंको सट्टा पुरुष पत्रकार आएको भए पनि यी कुरा भन्न हामीलाई गाह्रो हुन्थ्यो ।’
तारासँगै मंगलसेनमा कैद सजाय भुक्तान गरिरहेकी पञ्चदेवल विनायककी २८ वर्षीया हरिशोभा बडुवालले जेल आउनुअघि परिवार नियोजनको अस्थायी साधन नरप्लान्ट राखेकी थिइन् । जेल जीवन सुरु भएपछि उनले नरप्लान्टको प्रयोग रोकिन् । अहिले उनलाई महिनावारी अनियमित हुनेसहित विभिन्न समस्याले बारम्बार सताइराख्छ । भनिन्, ‘सेतो पानी बगिराख्ने समस्या छ, तल्लो पेट दुखिराख्छ । गन्ध आइराख्छ भनेर साथीहरू नजिक बस्न मन पराउँदैनन् ।’ उनलाई आफ्नो समस्या जेलका कर्मचारीलाई भनेर उपचार गराउन मन छ । तर जेलरदेखि सुरक्षाकर्मीसम्म सबै पुरुष छन्, खुलेर भन्न सक्दिनन् ।
जिल्ला कारागार अछाममा कैदीको नियमित स्वास्थ्य जाँच गर्न अहेवको दरबन्दी छ । तर, ती पुरुष छन् । आफूले कैदीबन्दीको स्वास्थ्य जाँच नियमित गरिरहे पनि महिलाले खुलेर समस्या नबताएको अहेव अमर धामीले पनि बुझेका छन् । ‘कैदीबन्दी महिलाहरूलाई केही समस्या छ कि भनेर सोधे पनि भन्दैनन्,’ उनले भने, ‘उनीहरूका लागि स्वास्थ्यकर्मी महिला नै भए सजिलो हुन्थ्यो ।’ अछाम कारागारकै महिला कैदीबन्दीको जस्तो समस्या देशका अन्य कारागारमा पनि छ । बर्दिया कारागारमा रहेकी ३१ वर्षीया रमिला (परिवर्तित नाम) ले अपहरण मुद्दामा कैद जीवन बिताएको ११ वर्ष भयो । पानीकै अभाव छ । त्यसमाथि शौचालय जानसमेत घण्टौं लाइन बस्नुपर्ने समस्याले महिनावारीको दुःखलाई झनै बढाउने गरेको उनको अनुभव छ । उनीसँगै जेलमा रहेकी नेपालगन्ज घर बताउने २४ वर्षीया महिलाले भने महिनावारीका बेला सेनेटरी प्याडसमेत नपाउने गरेको दुःखेसो गरिन् । भनिन्, ‘जेलमा बस्नेसँग प्याड किन्ने पैसा पनि हुँदैन । प्याड किन्नकै लागि घरबाट पैसा माग्न सक्दैनौं । त्यसैले कपडाको प्रयोग गर्छौं । तर जेलमा सफा कपडा पाइँदैन ।’
बर्दिया कारागारको महिला बन्दीगृहमा अहिले ३२ जना कैदीबन्दी छन् जब कि क्षमता २५ जनाको मात्र छ । उनीहरूलाई जम्मा दुईवटा शौचालय र एउटा बाथरुम छ । त्यसैले पनि धेरैजसो महिला कैदीबन्दी महिनावारीका बेला उचित सरसफाइसमेत गर्न सक्दैनन् । कारागारका निमित्त जेलर विजयकुमार मल्लले केही संस्थाले प्याड बाँडे पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए ।
कान्तिपुरसँगको कुराकानीमा कारागारका धेरैजसो महिला कैदीबन्दीले यौन तथा प्रजनन स्वास्थ्यमैत्री वातावरण नरहेको बताए । धेरैजसोले भने महिनावारीका बेला दुखाइ कम गर्ने औषधि र तातोपानी पनि नपाइने गरेको दुखेसो गरे ।
बाँकेको राप्तीसोनारीकी २९ वर्षीया एक महिलाले महिनावारीमा आफूलाई असाध्यै पेट दुख्ने गरे पनि त्यतिबेला दुखाइ कम गर्ने औषधि पनि नपाइने बताइन् । उनले सेनिटरी प्याडको अभावमा महिनावारी
झनै कष्टकर भएको बताउँदै भनिन्, ‘स्कुलहरूमा जस्तै जेलमा पनि निःशुल्क प्याड दिए कति राम्रो हुन्थ्यो ।’
चार वर्षदेखि सजाय भुक्तान गर्दै आएकी सुनसरीकी २८ वर्षीया एक महिला मोरङ कारागारमा छिन् । अनमी विषय पढेकी उनी महिला बन्दीगृहकी स्वास्थ्य नाइके हुन् । महिनावारीको पहिलो दिन अत्यधिक पेट दुख्ने हुँदा औषधि खानुपर्ने बाध्यता भोगिरहेकी उनले बन्द पर्खालभित्र हुने महिनावारीमा शरीरमा दुखाइ हुने, दिक्क लाग्ने, बोल्न मन नलाग्ने र रिस उठ्ने समस्या बढ्ने गरेको बताइन् ।
मोरङ कारागारकी एक ३१ वर्षीया कैदीले महिनावारीका बेला कम्मर खसेजस्तो दुख्ने गरेको बताइन् ।
पछिल्लो समय पिसाब संक्रमणको समस्या रहेको उनले बताइन् । ५० जना क्षमताको मोरङ कारागारको महिला बन्दीगृहमा ८३ जना छन् । बन्दीगृहका स्वास्थ्य नाइकेका अनुसार यहाँका ५० प्रतिशत महिलाको नियमित महिनावारी छैन । केहीको कम र केहीको बढी रक्तस्राव हुने समस्या छ । २५ प्रतिशत महिलामा भने ‘युरिन इन्फेक्सन’को समस्या छ । ७० प्रतिशतभन्दा बढी कैदीबन्दीले सेनिटरी प्याड प्रयोग गर्ने गरेका छन् । कारागार निमित्त प्रमुख रामप्रसाद पोखरेलले महिला कैदीबन्दीलाई दिने स्वास्थ्य सेवामा विभेद नभएको दाबी गरे, तर महिलाका वास्तविक समस्या बुझ्ने संयन्त्र उनीसँग छैन ।
आठ महिनादेखि दैलेख कारागारमा रहेकी अछामकी शोभा रोकामगरलाई महिनावारीका बेला निकै कमजोर भएको महसुस हुन्छ । उनले त्यस्तो बेला उचित पोषण र सहज वातावरणको अभावमा आफूलाई मानसिक समस्या भएजस्तो हुने गरेको अनुभव साटिन् । भनिन्, ‘रगत धेरै बग्छ । हातगोडा दुख्ने, रिस उठ्ने, आँखा पोल्ने र एक्लै बस्न मन लाग्ने हुन्छ ।’ रगत धेरै बग्ने भए पनि सेनिटरी प्याडको पहुँच नभएकाले उनको समस्याझैं बढ्छ । उनले त्यस्तो बेला राम्ररी सरसफाइ पनि गर्न नपाउनाले अरू रोगले सताउला कि भन्ने भइरहेको उनले बताइन् ।
दैलेख जिल्ला कारागारका २६ महिलामा शोभाकै जस्तो समस्या अरूलाई पनि छ । दैलेखको दुल्लु–२ नाउँलेकी ३० वर्षीया दिलु थापा जेलभित्रै सुत्केरी भएको तीन साता पनि भएको छैन । बहुविवाह मुद्दामा करिब ८ महिनायता कारागारमा रहेकी उनले पोषणको अभावमा नवजात शिशुको तौल २ केजी मात्रै रहेको बताइन् । उनले भनिन्, ‘यस्तो अवस्थामा पनि एक्लै बस्नुपरेको छ । आफ्नोभन्दा पनि बच्चाको अवस्थाले पिरोल्छ ।’
कारागारकी महिला नाइके मन्दिरा गुरुङले कारागारमा रहेका अधिकांश महिलामा उच्च रक्तचापको समस्या रहेको बताइन् । जेलर उदयराज उपाध्यायले डाक्टरको दरबन्दी भए पनि स्वास्थ्य जाँच गर्ने उपकरण नभएकाले औषधि मात्रै दिने गरेका बताए ।
धेरैजसो जेलभित्र महिनावारीका बेला महिलाले छोइछिटो बार्नुपर्दा झनै समस्या थपिएको देखिन्छ । एक शौचालय र सरसफाइको अभाव त्यसमाथि छोइछिटोको डर । २५ जना कैदीबन्दी महिला रहेको धादिङ कारागारमा सजाय भुक्तान गरिरहेकी २६ वर्षीय महिलाले महिनावारीका बेला ४ दिनसम्म बार्ने गरेको र त्यो समय कष्टसाध्य हुने अनुभव सुनाइन् । पानी र शौचालय अभावमा महिनावारी बार्ने काम झन्झटिलो हुने गरेको अनभुव उनीहरूको छ ।
९ वर्षदेखि कारागारमा रहेकी काठमाडौं कीर्तिपुरकी ३८ वर्षीया लक्ष्मी पुरी रजस्वला हुने दिनहरू सम्झन पनि चाहन्नन् । पेट दुख्ने, फुल्ने समस्याले आजित उनी महिनावारीका बेला आवश्यक पर्ने सेनिटरी प्याडलगायत सुरक्षाका सामग्रीहरू सरकारले नै प्रदान गरिदिए हुन्थ्यो भन्ठान्छिन् ।
महोत्तरीको जलेश्वरस्थित पुरानो जीर्ण कारागारको महिला बन्दीगृहमा ५१ कैदीबन्दी महिला छन् । धेरैजसोसँग महिनावारीका बेला हुने दुःख र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका नमिठा अनुभव छन् । महिला शाखाकी चौकीदार रीता राउतले खुलेर बोल्न नसक्दा उपचार नपाई धेरैले रोग पालेको बताइन् ।
आठ महिनाअघि जलेश्वर कारागारमा पुगेकी बर्दिवास–८ की लासाङ लोप्चन अहिले सेतो पानी बग्ने समस्याबाट पीडित छिन् । महिनावारी हुँदा महिनामा एक पटक लगाउने कपडा र प्याडको समेत बन्दोबस्त नहुँदा उनले ठूलै हैरानी बेहोर्नुपरिरहेको छ । महिनावारीका बेला उनी आफैंले लगाएर फटाएका सुरुवाल, टिसर्ट र कुर्तालाई टालो बनाएर प्रयोग गर्छिन् । उनले भनिन्, ‘औषधि गर्न पैसा छैन, आफन्त कोही फर्किएर आउँदैनन् । सरकारले दिएको पैसाले खान पुर्‍याउन त मुस्किल छ, के प्याड लगाउनु, केले उपचार गर्नु ?’
सरकारले कपडा किन्ने खर्च भनेर कैदीबन्दीलाई १८ सयका दरले वर्षमा २ पटक भत्ता दिन्छ । महिला कैदीबन्दीको यौन तथा प्रजनन स्वास्थ्यबारे भने छुट्टै व्यवस्था छैन । सप्तरीकी सजनी सदा ८ वर्षदेखि जलेश्वर कारागारमा छिन् । उनीसँग अहिले ४ वर्षअघि बाढी र डुबानको राहत वितरणमा पाएको धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड मात्रै छ । महिनावारीका बेला असहज हुँदा, पेट दुख्दा चाहिने औषधि र डेटोललगायत सरसफाइ सामग्री आफूसँग नभएको बताइन् ।
थापाथलीस्थित परोपकार प्रसूतिगृहकी विशेषज्ञ डा. कृतिपाल सुवेदीले महिनावारीका बेला ख्याल नगर्दा संक्रमण बढ्दै गएर पाठेघरको मुखको संक्रमण हुने र क्यान्सरलगायत रोगको जोखिम हुने बताउँछिन् । कारागारमा रहेको महिला कैदीबन्दीलाई सेनिटरी प्याड दिएर आधारभूत सुधार गर्न सकिने भए पनि समग्र सुधारका लागि महिलामैत्री वातावरण हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘महिनावारी हुँदा खुलेर भन्न नसक्ने, एकअर्कासँग घुलमिल हुन नमिल्दा डिप्रेसन हुन सक्ने र पर्याप्त सरसफाइको अभावमा शारीरिक र मानसिक समस्याको खतरा रहन्छ । यसका लागि कारागारमा महिलामैत्री संयन्त्र बनाउनु आवश्यक छ ।’

मुख्य पृष्ठ

'एसपीपीमा सहभागी हुँदैनौं, अन्य सहकार्य जारी रहोस्’

अमेरिकालाई नेपालको पत्र
- जगदीश्वर पाण्डे

(काठमाडौं)
नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई औपचारिक पत्राचार गरेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने जानकारी गराएको छ । एसपीपी अस्वीकार गर्न मन्त्रिपरिषद् बैठकले गत असार ६ मा निर्णय गरेको एक महिना तीन दिनपछि परराष्ट्र मन्त्रालयले साउन ९ मा पत्र पठाएको हो ।
सांसदले निरन्तर प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठकमा शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्काले पत्र पठाइसकेको जानकारी दिए । त्यसलगत्तै काठमाडौंस्थित अमेरिकी दूतावासका एक अधिकारीले कान्तिपुरलाई प्रतिक्रिया दिँदै नेपाल सरकारबाट एसपीपी अस्वीकार गर्ने सम्बन्धको पत्र प्राप्त भएको पुष्टि गरे । दूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विल्करसनले भने, ‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं, हामी एसपीपीमा सरकार (नेपाल) को निर्णयलाई बुझ्छौं र पूर्ण रूपमा स्वीकार गर्छौं ।’
कान्तिपुरलाई प्राप्त जानकारीअनुसार सरकारले भनेको छ, ‘एसपीपीलाई हामी स्वीकार गर्दैनौं तर नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई भने निरन्तरता दिन चाहन्छौं ।’ पत्रमा नेपाली र अमेरिकी सेनाबीच जारी संयुक्त अभ्यास र सहकार्यमा कुनै असर नपर्ने पनि स्पष्ट पारिएको छ । ‘एसपीपी सम्बन्धमा हाम्रो सहकार्य हुँदैन तर विपद् व्यवस्थापनलगायत अन्य विषयमा नेपाललाई अमेरिकी सरकारको सहयोग चाहिन्छ र द्विपक्षीय रूपमा दुई देशका सेनाबीचको अभ्यास र सहयोग आदानप्रदान पनि जारी रहोस् भन्ने आग्रह गरेका छौं,’ परराष्ट्रका अधिकारीले भने । नेपाली सेनाले भारतीय, चिनियाँ र अमेरिकी सेनासँग द्विपक्षीय अभ्यास गर्दै आएको छ । पाकिस्तान, बेलायत र अन्य मुलुकका सेनासँग पनि नेपाली सेनाका प्रशिक्षण कार्यक्रम चल्दै आएका छन् ।
परराष्ट्रमन्त्री खड्काले पत्राचारको विषयमा अन्तरिक परामर्शका कारण केही समय लागेको बताए । ‘यसको आन्तरिक तथा बाह्य आयामहरू तथा एसपीपीलाई अघि नबढाउने अवस्थामा सहकार्य कसरी अघि बढ्छ भन्ने विषयमा विभिन्न निकायबीच गृहकार्य, आन्तरिक संवाद र छलफल आवश्यक हुने भएकाले केही समयमा लागेको हो,’ संसद्मा खड्काको भनाइ थियो, ‘तर, केही सांसदले यसमा संशयसमेत व्यक्त गरेको सुनिएको छ, एसपीपीको विषयमा सरकार प्रस्ट थियो र छ, नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयमा संशय व्यक्त गर्नु अस्वाभाविक नै हुन्छ ।’ उनले स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति अपनाएर राष्ट्रिय हित सुरक्षित गर्न सरकार सक्षम रहेको पनि बताए ।
सरकारले वैदेशिक सहयोग स्वीकार गर्दा मुलुकको सर्वोपरी हितलाई प्राथमिकता राख्ने गरेको भन्दै मन्त्री खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको पनि दोहोर्‍याए । ‘नेपाल कुनै पनि सैन्य गठबन्धनमा आबद्ध हुने प्रश्नै उठ्दैन, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र हितविपरीत कुनै सन्धि, सम्झौता वा गतिविधि हुन नदिने प्रतिबद्धता यस गरिमामय सदनसमक्ष व्यक्त गरिसक्नुभएको छ,’ खड्काले भने ।
नेपाल सरकारको अनुमतिमा नेपाली सेनाका तत्कालीन प्रधानसेनापतिले २०१५ र २०१७ मा पत्राचार गरेपछि नेपालले सन् २०१९ मा एसपीपीको सदस्यता पाएको अमेरिकी भनाइ छ । तर, यो साझेदारीमा सहभागी नहुने भनेर औपचारिक पत्र लेखिसकेकाले नेपालका लागि एसपीपीको अध्याय बन्द भएको छ ।
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बालुवाटार प्रधानमन्त्री देउवा र सिंहदरबारमा परराष्ट्रमन्त्री खड्कासँग यसबारे चासो राखेको मन्त्रालय स्रोतले जनाएको छ । यसमा नेपाल र अमेरिका असल मित्र भए पनि भूराजनीतिक जटिलता र असंलग्न परराष्ट्र नीतिको सिद्धान्तका कारण नेपाल एसपीपीमा साझेदार हुन नसकेको जवाफ दुवै नेताले दिएको पनि स्रोतको दाबी छ । तर प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले एसपीपीको विषयमा कुनै कुरा नउठेको बताए । काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर्स प्रमुख विल्करसनले पनि लुले एसपीपीको सम्बन्धमा केही कुरा नगरेको प्रतिक्रिया दिए ।
बैठकमा सहभागी पदाधिकारीका अनुसार भेटवार्तामा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणसहित पूर्वाधार विकासमा सहयोगको विषयमा छलफल भएको थियो । उक्त अवसरमा लुले नेपालले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई अनुमोदन गरेर ऊर्जा र पूर्वाधार विकासको कामलाई अघि बढाएकोमा प्रधानमन्त्री देउवालाई धन्यवाद लिएका थिए । ‘सहायक विदेशमन्त्री लुले प्रधानमन्त्रीजीले नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो, साथै लुले नेपालको पूर्वाधार र आर्थिक विकासमा आफ्नोतर्फबाट सहकार्य र सहयोग भइरहने बताउनुभयो,’ प्रधानमन्त्रीका प्रेस प्रमुख परियारले भने ।
भेटवार्तापछि प्रधानमन्त्री देउवाले ट्वीट गर्दै नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् । ‘म अमेरिकाको निरन्तर विकास सहयोगका लागि धन्यवाद दिन्छु र उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा गर्दछु,’ उनले भनेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दुवै भेटवार्तामा अमेरिका र नेपालबीचको सम्बन्धमा विषयमा छलफल भएको छ । दूतावासले अमेरिका–नेपाल ७५ वर्षको साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्धलगायत विषयमा छलफल भएको जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार खड्कासँगको भेटवार्तामा दुवै पक्षले विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ विरुद्धको खोपलगायत विभिन्न क्षेत्रमा छलफल गरे । लु तीनदिने भ्रमणका क्रममा बिहीबार नेपाल आएका हुन् । दक्षिण तथा मध्य एसिया मामिलाको सहायक विदेशमन्त्री लु शनिबार फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवालाई गत वर्ष चैत २५ मा अमेरिकी सरकारबाट भ्रमणको निम्तो आएको थियो तर दुवै पक्षलाई अनुकूल हुने समयको खोजी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो । ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा दुवै पक्षबीच अनुकूल मितिको सम्बन्धमा कुरा भइरहेको छ, दुवैलाई अनुकूल हुने मिति अहिलेसम्म तय भएको छैन,’ साउन ४ को नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले भनेकी थिइन् ।
त्यसअघि असार २० मा पनि प्रवक्ता लम्सालले प्रधानमन्त्रीको भ्रमण अपेक्षित भन्दै विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय लाग्ने बताएकी थिइन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण सुरुआतमा असार अन्तिम साता हुने गरी गृहकार्य भएको थियो तर दुवै मुलुकका नेताहरूबीच अनुकूल समय नमिल्दा भ्रमण धकेलिएको हो ।
परराष्ट्रका अधिकारीका अनुसार भ्रमण कहिले हुन्छ भन्ने यकिन छैन । साउन ४ कै पत्रकार सम्मेलनमा परराष्ट्रकी प्रवक्ता लम्सालले आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा नेपालका तर्फबाट उच्च तहको सहभागिताका लागि गृहकार्य भएको बताएकी थिइन् । उनले प्रधानमन्त्री नै उक्त भ्रमणमा जाने वा नजाने विषयमा भने मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइन् । जसलाई देउवाको सम्भावित र ‘उपयुक्त समय’ को अमेरिका भ्रमणका रूपमा पनि हेरिएको छ ।

मुख्य पृष्ठ

सफाइ दिन ‘फरक मत’ को साथ

समिति होस् वा सदनमा दबाब दिएर अवधि थप गरेरै भए पनि अनुसन्धान पूर्ण बनाउनुपर्नेमा फरक मत राखेर पूर्वअर्थमन्त्रीलाई चोख्याउन प्रमुख प्रतिपक्षीले मद्दत गरेको एमालेकै नेता–कार्यकर्ताकै आरोप
- मकर श्रेष्ठ

(काठमाडौं)
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमा रहेका एमाले सांसदहरूले फरक मत राखे– ‘अनुसन्धान पूर्ण र पर्याप्त हुन नसकेको’ भन्दै । समिति होस् वा सदनमा दबाब दिएर अवधि थप गरेरै भए पनि अनुसन्धान पूर्ण बनाउनुपर्नेमा फरक मत राखेर प्रमुख प्रतिपक्षी सांसदले पूर्वअर्थमन्त्रीलाई चोख्याउन मद्दत गरेको आरोप एमालेकै नेता–कार्यकर्ताले लगाएका छन् । समितिमा रहेका एमालेतर्फका सदस्यहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका हुन् ।
बजेट निर्माणका क्रममा मन्त्रालयमा प्रवेश गर्ने अनधिकृत व्यक्तिसहित छानबिनको दायरामा रहेकाहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य संग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको, बजेट निर्माणमा संलग्न कर्मचारीको विवरण नदिएको उनीहरूको फरक मतमा उल्लेख छ ।
‘अनुसन्धान नै पूर्ण र पर्याप्त हुन नसकेका कारण यत्तिकै आधारमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने निष्कर्षमा पुग्न सकिँदैन,’ फरक मतमा उनीहरूले भनेका छन् ।
मन्त्रालयमा रातिको सुरक्षा जिम्मा लिएका सुरक्षाकर्मीसँग पनि सोधपुछ गर्न अवरोध भएको उनीहरूले जनाएका छन् ।
११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको भन्दै पूर्वअर्थमन्त्री शर्मालाई सफाइ दिएको छ । अर्थ मन्त्रालयले सीसीटीभीको फुटेज नष्ट गरेको समेत आरोप लगाएको छ । मन्त्रालयको सीसीटीभी फुटेजको रिकभर भएका एक सेकेन्डको क्लिपबाट अनुसन्धानको निष्कर्षमा पुग्न नसकिने एमालेको तर्क छ । प्रहरीको फरेन्सिक ल्याबबाट रिकभर भएको फुटेजमाथि पनि एमालेले आशंका गरेको छ । ल्याबको रिपोर्टमा आशंका गर्दै एमालेले राखेको फरक मतमा भनिएको छ, ‘अन्य मितिका कतिपय फुटेज पूर्ण रूपमा हेर्न सकिने खालका छन् ।’ छानबिनको क्रममा सत्यता जाँच गर्न पोलिग्राफ परीक्षणको माग गर्दा बेवास्ता गरिएको एमालेको आरोप छ ।
समितिले तयार गरेको छानबिनसम्बन्धी कार्यविधिमा आवश्यक देखेमा छानबिनको दायरामा परेका सम्बन्धित व्यक्तिको टेलिफोन संवाद (कल डिटेल) को विवरण माग गर्नेसम्मको योजना थियो तर पूर्वअर्थमन्त्री जनार्दन शर्मा फस्ने संकेत पाएपछि सत्तापक्ष यसतर्फ अघि बढ्नै नचाहेको एमाले सांसदको आरोप छ । ‘अनधिकृत व्यक्ति भनिएका व्यक्तिको कल डिटेल माग गर्ने सम्बन्धमा समितिमा रहनुभएका सत्तापक्षका माननीयहरूले असहमति जनाइरहनुभयो, प्रचलित विधिबमोजिम कल डिटेल माग गर्ने, करका दर हेरफेर गरिएको भनिएको जेठ १४ गते राति निज (हरू) को लोकेसन पत्ता लगाउने र उनीहरूसँग सोधपुछ गर्नॅपर्ने हाम्रो लगातारको आग्रहलाई सुरुमा समितिको हैसियत (यो न्यायिक समिति हो कि नीतिगत प्रश्नमा मात्रै छलफल गर्ने अधिकार राख्ने समिति हो लगायत) बारेमा अन्त्यहीन बहस गरियो, अन्तिममा अब यसका लागि समय छैन भन्ने तर्कका साथ अस्वीकार गरियो,’ एमालेका चार सांसदले राखेको फरक मतमा छ ।
समितिको अधिकार क्षेत्रलाई संकुचित बनाइँदा भविष्यमा बन्ने संसदीय छानबिन समिति निष्प्रभावी र कर्मकाण्डी बन्न सक्ने जोखिम रहेको एमालेको ठहर छ । अर्थ मन्त्रालयले आफ्नो कामको चौतर्फी विरोध हुँदा पनि सीसीटीभी फुटेज सार्वजनिक नगरी ढाकछोप गरेको एमालेको आरोप छ । अर्थ मन्त्रालयका कर्मचारीहरूले प्रधानमन्त्रीको संरक्षकत्व खोज्दै विवरण लुकाएको उनीहरूले दाबी गरेका छन् । यस्ता गतिविधिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आशंकामा झन् बल पुगेको उनीहरूको निष्कर्ष छ ।
करको दर हेरफेर गर्न बजेट निर्माणको अघिल्लो दिन एक पूर्वकर्मचारी अर्थ मन्त्रालयमा गएको आरोप लगे पनि समितिले उनीमाथि बयानसमेत नलिई तयार गरेको प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई पेस गरेको छ । एमाले सांसदले कल डिटेल नहेरी बयान लिन नहुने अडान लिएपछि आरोपित पूर्वकर्मचारीसँग बयान नलिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए । ‘उनको बयान लिने हाम्रो योजना थियो तर एमालेले कल डिटेल नलिई बोलाउन हुन्न भन्यो, कल डिटेलको प्रक्रियामा जाँदा ढिला हुने भएकाले यतातिर लागेनौं ।’

Page 2
समाचार

बाह्र वर्षमा तेब्बर बाघ

मानव–बाघ द्वन्द्व घटाउन बासस्थान सुधार, आहारा प्रजाति संरक्षण र करिडोर सुरक्षा चुस्त बनाउनुपर्नेमा जोड
- अब्दुल्लाह मियाँ,गोविन्द पोखरेल
दृष्टान्त बिडारी

(काठमाडौं)
नेपालले बाघ दोब्बर गर्ने प्रतिबद्धता जनाएपछिको १२ वर्षमा बाघको संख्या झन्डै तेब्बरले वृद्धि भएको छ । सन् २०१० मा १ सय २१ को संख्यामा रहेका बाघ सन् २०२२ सम्म २ सय ५० पुर्‍याउने लक्ष्य लिइएको थियो, संख्या २ सय ३४ बढेर देशभरिमा ३ सय ५५ पुगेको हो । यिनमा पोथीको संख्या धेरै छ ।
बाघ पाइने १३ देशका राष्ट्रप्रमुखहरू र संरक्षणमा काम गर्ने सरोकारवालाहरू सहभागी रुसको सेन्टपिटर्सबर्ग बाघ सम्मेलन–२०१० मा नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । संख्या वृद्धिसँगै बाघ रहेका राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका बस्तीहरूमा मान्छे र सम्पत्ति क्षति हुने क्रम बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विश्व बाघ दिवसका दिन आयोजित समारोहमा ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ घोषणा गरे ।
‘संरक्षित क्षेत्रहरूमा पर्यापर्यटन विकास गरी स्थानीय जनताहरूको जीविकोपार्जनका क्रियाकलापमा जोड दिइनेछ,’ विश्व बाघ दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्षसमेत रहेका उनले भने, ‘प्रभावित क्षेत्रमा यो कार्यक्रम सञ्चालन गर्न आन्तरिक तथा बाह्य स्रोतबाट वार्षिक एक अर्ब रुपैयाँ परिचालन गरिनेछ ।’
वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाघलाई वनमै र मान्छेलाई घरमै राख्ने रणनीतिका साथ अब संरक्षण कार्यक्रम अघि बढाउने बताए । ‘धेरै चुनौतीका बावजुद हामीले बाघ संरक्षणमा सफलता हात पारेका छौं,’ उनले भने, ‘अब बाघलाई पनि बचाउने र मान्छेको पनि क्षति न्यून गर्ने गरी कार्यक्रम र नीतिहरूको ढाँचा बनाएर हामी अघि बढ्छौं ।’ वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले जनतालाई केन्द्रबिन्दुमा राखेर अबका कार्यक्रम अघि बढाउन मन्त्रालय अघि बढ्ने उद्घोष गरे । ‘बाघ बढाउने सरकारको प्रतिबद्धतामा जनताको सहयोग छ,’ उनले भने, ‘अब सरकारले त्यसको गुन तिर्नुपर्छ, हाम्रा कार्यक्रम जनतामैत्री हुनेछन् ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले संख्या बढेसँगै मानव–बाघ सहअस्तित्व कसरी कायम गराउन सकिन्छ भन्नेतिर सरकारको ध्यानाकर्षण भएको बताए । ‘बाघको बासस्थान, करिडोर र आहार प्रजाति जोगाउने तथा जलवायुमैत्री बाघ संरक्षण योजनामा हाम्रो जोड हुनेछ,’ सचिव कँडेलले भने ।
विभागका इकोलोजिस्ट उपसचिव गणेश पन्तका अनुसार मुलुकमा संरक्षण कार्यक्रम सुरु भएयताका ५०–५१ वर्षमा बाघलगायत वन्यजन्तुको आक्रमणमा परेर देशभरि संरक्षणकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी करिब ४ सय ५० जनाले ज्यान गुमाइसकेका छन्, धेरै घाइते भएका छन् । ठूला प्रजातिका वन्यजन्तुहरू बाघ, हात्ती र गैंडाका कारण धेरै आक्रमण हुने गरेका छन्, जसले मानवीय क्षति निम्तिने गरेको छ ।
बाघको संख्या बढेसँगै चितवन र बर्दिया निकुञ्जमा सबैभन्दा बढी मानव र पशुधनको क्षति भएको देखिन्छ । त्यही भएर सरकारले मानव हितका कार्यक्रम अघि बढाउन चाहेको महानिर्देशक कँडेलले बताए । ‘बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन २०२२’ अनुसार १२ वर्षको बीचमा सबैभन्दा बढी बर्दिया निकुञ्जमा बाघ बढेका छन् । सन् २०१० मा १८ को संख्यामा रहेका बाघ बढेर अहिले १ सय २५ पुगेका हुन् ।
त्यो हिसाबले मुलुकको पहिलो चितवन निकुञ्जमा बाघको संख्या वृद्धि कम देखिन्छ । सन् २००९/१० को सर्वेक्षणअनुसार चितवनमा ९१ वटा बाघ थिए । शुक्रबार सार्वजनिक गणना प्रतिवेदनअनुसार १२ वर्षको अवधिमा चितवन निकुञ्जमा ३७ वटा बाघ बढेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहास्थित जैविक विविधता संरक्षण केन्द्रका प्रमुख वन्यजन्तुविद् बाबुराम लामिछाने चितवन निकुञ्जमा बाघको उपस्थिति स्टेबल रहेको बताउँछन् । ‘निकुञ्जको कोर एरियाबाहेक मध्यवर्ती र सामुदायिक वन, बरण्डाभारको जंगल र चुरे क्षेत्रसम्मै बाघको उपस्थिति देखिन्छ,’ उनले भने, ‘बर्दियाका हकमा सानो वन क्षेत्र भए पनि बाघको घनत्व बढी देखिन्छ ।’
सन् २०१० मा तत्कालीन पर्सा वन्यन्तु आरक्षमा ४ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ८ मात्र बाघ थिए । शुक्रबार घोषित प्रतिवेदनअनुसार पर्सा निकुञ्जमा अहिले ४१ र शुक्लाफाँटा निकुञ्जमा ३६ बाघ छन् ।
निकुञ्ज तथा त्यससँग जोडिएको जंगल क्षेत्रमा बाघको उपस्थिति हरेक सय वर्ग किलोमिटरमा पर्सामा १.७४, चितवनमा ४.०६, बर्दियामा ७.१५ रहेको पाइएको छ । चितवनमा हरेक एक वर्गकिलोमिटरमा आहारा प्रजातिको उपस्थिति एक सयवटा छ भने बर्दियामा ९० छ । पर्सामा भने ७५ वटा रहेको पाइएको छ ।
बाघ बढाउनकै लागि सरकारले सन् २०१० मा बर्दिया निकुञ्जको पूर्वमा बाँके निकुञ्जको घोषणा गरेको थियो, त्यहाँ अहिले २५ वटा बाघ पुगेका छन् । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिवसमेत रहेका वन्यजन्तुविज्ञ महेश्वर ढकाल नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरिरहँदा मानव–बाघ द्वन्द्व सिर्जना भएर त्यसको मूल्य स्थानीय समुदायले चुकाइरहेकाले सरकारले प्राथमिकता छुट्याएर रणनीतिहरू बनाउनुपर्ने सुझाउँछन् । ‘बाघ संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको पनि दायित्वबोध हुने तथा प्राविधिक र आर्थिक सहयोगका लागि बाध्य पार्ने गरी अबका दिनमा पैरवी गर्नु जरुरी छ,’ उनले भने, ‘सँगै अब स्थानीय समुदायलाई कसरी लाभ दिन सकिन्छ भन्ने ध्यान दिन जरुरी छ ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद ओली मुलुकले धान्न सक्ने बाघको भारवहन क्षमता (क्यारिङ क्यापासिटी) अध्ययन गरेर अघि बढ्ने हो भने अहिले देखिएको मानव–बाघ द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्न सक्ने औंल्याउँछन् । ‘विदेशमा कसरी बाघको व्यवस्थापन भइरहेको छ भन्नेतिर पनि ध्यान दिन जरुरी छ,’ उनले भने ।
जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि हेमसागर बरालले बाघको संख्यालाई यथावत् राख्न बासस्थान र आहारमा जोड दिनुका साथै करिडोरको सुरक्षा चुस्त बनाउन सके मानव–बाघ द्वन्द्व घट्न मद्दत पुग्ने तर्क गरे । ‘सँगै सीमान्तकृत समुदायको जीवनस्तर उकास्न आम्दानीमूलक कार्यक्रमको प्याकेज अघि बढाउनुपर्छ,’ उनको सुझाव छ । डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङले बाघ बढेसँगै मानवीय क्षतिका साथै सडक दुर्घटनालगायतका कारण बाघ मर्नेक्रम बढेकाले दुवैको अस्तित्व कायम हुने गरी सरकारले अबको यात्रा अघि बढाउनुपर्ने बताए । ‘बाघ बढेकाले हेर्न पर्यटकहरू अझ धेरै भित्रिने सम्भावना छ,’ उनले भने, ‘त्यसैले अब निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रका बासिन्दालाई आम्दानीमूलक उद्यम होमस्टे र अन्य आयआर्जनमा व्यस्त बनाउनु उत्तम हुन्छ,’ उनले भने, ‘आफ्नो घरआँगनमै धेरथोर आम्दानी गर्न पाएपछि निउरो टिप्न र अन्य साना कामका लागि स्थानीयले जंगल जानुपर्ने बाध्यता हट्छ र स्वतः द्वन्द्व घट्छ ।’ सहयोगी संस्थाहरूका साथै तीनवटै तहका सरकारले पनि स्थानीयको क्षमता अभिवृद्धि र आयमूलक तालिम दिन सके उनीहरू वैकल्पिक पेसामा आबद्ध हुने र त्यसैले जीवनस्तर उकास्न टेवा पुर्‍याउने उनको अपेक्षा छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) की अध्यक्ष भारती पाठकले जंगलको क्षमता नहेरी बाघको संख्या मात्र बढाउँदै जाँदा मानवीय क्षति बढिरहेको विषयलाई सरकार र सरोकारवालाहरूले गम्भीर हिसाबले लिनुपर्ने बताइन् । ‘बाघको विरोध गरेको होइन तर मान्छे जोगाउने गरी संख्या कायम गरौं, त्यसो हुँदा मानव र वन्यजन्तुको न्याय हुन्छ,’ उनले भनिन् । विभागले जेडएसएल नेपाल, डब्लूडब्लूएफ नेपाल, एनटीएनसीलगायतको आर्थिक तथा प्राविधिक सहयोगमा गत मंसिर १९ देखि फागुन २८ सम्म बाघ गणना गरेको थियो । बाघको विचरण यकिन गर्न तराई भू–परिधि कार्यक्रमअन्तर्गतका २४ जिल्लामा अकुपेन्सी सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षण गरिएकामध्ये रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम, दाङ, बाँके, सल्यान, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा गरी १६ जिल्लामा बाघ विचरण भएको पाइएको छ । बाघको सम्भावित विचरण क्षेत्र १८ हजार ९ सय २८ वर्गकिमि मानिएको छ । यसमध्ये ९ हजार ६ सय ५३ वर्गकिमि क्षेत्रमा बाघले विचरण गर्ने गरेको पाइएको छ । चितवन–पर्सा, बाँके बर्दिया र शुक्लाफाँटा–लालझाडी–जोगबुढा गरी तीनवटा कम्प्लेक्समा विभाजन गरी क्यामेरा ट्र्याप विधि प्रयोग गरिएको थियो । बाघ नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची १ मा छ । आईयूसीएनको जोखिम सूचीमा परेका वन्यजन्तुमध्ये बाघ संकटापन्न प्रजातिअन्तर्गत पर्छ ।
विश्वभर बासस्थान विनाश, चोरी सिकार र अवैध व्यापार बाघ लोप हुनाका मुख्य कारण हुन् । विगत सय वर्षमा बाघको बासस्थान ९५ प्रतिशतले विनाश भएको छ भने सय वर्षअघि एक लाखको संख्यामा रहेका बाघ सन् २०१० मा आइपुग्दा ३ हजार २ सयको संख्यामा सीमित हुन पुगेका थिए । विश्वमा सुमात्रान, अमुर, बंगाल, साउथ चाइना, मलालयन, इन्डो–चाइनिज, सुमात्रा, जाभान र क्यास्पियन टाइगर गरी ९ प्रजातिका बाघ पाइन्छन् । यिनमा ३ उपप्रजाति सुमात्रान, जाभान र क्यास्पियन टाइगर लोप भए । बाघ पाइने १३ देशमध्ये कम्बोडिया, चीन, भियतनाम र कोरियामा प्राकृतिक बासस्थानमा प्रजनन भएको रेकर्ड छैन ।

नेपालमा बाघ
सन् १९९५  - ९८
सन् २०००  - १०९
सन् २००५  - १२६
सन् २००९  - १२१
सन् २०१३  - १९८
सन् २०१८  - २३५
सन् २०२२  - ३५५

समाचार

बासस्थान विस्तार

- भवानी भट्ट

(कञ्चनपुर)
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको लालझाडी मोहना संरक्षित क्षेत्रमा २०१३ मा एउटा वयस्क बाघ देखिएको थियो । यसपटक गरिएको गणनामा पनि उक्त क्षेत्रमा एउटा वयस्क भाले बाघ देखिएको छ । लालझाडीमा मात्रै होइन डडेलधुराको जोगबुडा क्षेत्रमा पनि यस पटकको गणनामा एउटा वयस्क बाघ देखिएको छ ।
राष्ट्रिय बाघ गणना २०२२ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै आसपासका वन क्षेत्रमा पनि बाघको बासस्थान विस्तार हुन लागेको देखिएको हो । शुक्लाफाँटा–लालझाडी र जोगबुडा कम्पलेक्सअन्तर्गत गरिएको गणनामा पहिलो पटक चुरे क्षेत्रको डडेलधुरा जोगबुडामा पनि बाघ देखिएको हो । ‘अहिले गरिएको बाघ गणनाले बासस्थान विस्तार हुँदै गएको देखिन्छ,’ शुक्लाफाँटा निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले भने, ‘संरक्षित क्षेत्रमा मात्रै नभएर आसपासको वन क्षेत्रलाई पनि यसको बासस्थानका रूपमा विकास गर्नुपर्छ भन्ने चुनौती छ ।’
शुक्लाफाँटा निकुञ्जमा पछिल्लो ४ वर्षको अवधिमा बाघको संख्या दोब्बर बढ्कोे तथ्यांक शुक्रबार सार्वजनिक गरिएको छ । माघ २८ देखि फागुन १४ सम्म गरिएको गणनामा १६ पोथी र १२ भाले गरी क्यामरा ट्र्यापिङमा परेका २८ र अकुपेन्सी सर्भे आधारमा ८ सहित ३६ बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको हो । अकुपेन्सी सर्भेमा बासस्थान, बाघको पाइला र आहाराको अध्ययन गरिन्छ । अकुपेन्सी सर्भेमा डोटीको बुडर क्षेत्रमा समेत बाघको पाइला देखिएको छ । निकुञ्ज र आसपासका क्षेत्रमा ३१ देखि ४९ वटाका हाराहारी बाघ रहेको विश्लेषण गरिएको थियो ।
३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा बाघको संख्या वृद्धिले संरक्षणका क्षेत्रमा कार्यरत सबैलाई हौस्याएको छ । यहाँ बाघको घनत्व प्रतिवर्गकिलोमिटर १.९९ छ । ‘बाघको संख्या वृद्धिले हामी सबै खुसी छौं,’ सहायक संरक्षण अधिकृत ऐरले भने, ‘अब बासस्थान व्यवस्थापन सँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण पनि त्यत्तिकै चुनौतीपूर्ण हुनेछ ।’ उनका अनुसार निकुञ्जको अधिकांश क्षेत्र बस्तीसँगै जोडिएको छ । घाँस दाउरादेखि विभिन्न कामले स्थानीय निकुञ्जभित्र पस्ने गरेकाले अन्य निकुञ्ज झैं बाघको आक्रमणमा पर्न सक्ने जोखिम बढेको उनले बताए । बासस्थानको व्यवस्थापन, चोरी सिकार नियन्त्रण र आहारा प्रजातिको उपलब्धताको कारण बाघको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशी बताउँछन् । २०१८ को राष्ट्रिय गणनापछि निकुञ्ज प्रशासनले गत वर्ष पनि बाघ गणना गरेको थियो । उक्त गणनामा १९ वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो ।
दुई वर्षअघि नेपाल–भारत सीमा नजिकै एक वयस्क बाघ पासोमा परेर घाइते अवस्थामा भेटिएको थियो । शुक्लाफाँटा सँगै जोडिएको भारत उत्तर प्रदेशको पिलिभित टाइगर रिजर्भमा पासोमा फसेको उक्त बाघ भागेर शुक्लाफाँटा पुगेको हुन सक्ने अनुमान गरिएको थियो । गत वर्ष पनि निकुञ्जकै ढक्का क्षेत्रमा एक वयस्क बाघ मरेको भेटिएको थियो । उक्त बाघको मृत्युको कारण खुल्न सकेको छैन ।
जोशी भन्छन्, ‘शुक्लाका बाघ भारततर्फको संरक्षित क्षेत्रमा र उताका बाघ यता आउने गरेका छन्, यसले सम्भावना र चुनौती दुवै थपेको छ ।’ उनका अनुसार २०१३ मा गरिएको अध्ययनअनुसार शुक्लाफाँटाको एउटा बाघ पिलिभितसम्मै पुगेको छ । उक्त क्षेत्रमा बाघको चोरी सिकार बढी हुने भएकाले चुनौती हुने गरेको छ ।
बाघ गणनासँगै निकुञ्जमा आहारा प्रजातिको पनि सर्भे गरिएको थियो । जसअनुसार निकुञ्जमा प्रतिवर्गकिलोमिटरमा १ सय ४६ आहारा प्रजातिको घनत्व रहेको पाइएको छ । प्रतिवर्गकिलोमिटरमा १ सय १४ भन्दा बढी चित्तल रहेको अध्ययनले देखाएको छ । बाघको मुख्य आहारामा जरायो, चित्तल, बाह्रसिंगा, लगुना र रतुवा लगायत पर्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगाका लागि परिचित छ । यहाँ २ हजारभन्दा बढी बाह्रसिंगा छन् । २०१० मा शुक्लाफाँटामा बाघको संख्या ८ मात्रै थियो । त्यसपछि २०१३ मा बढेर १७ पुग्यो भने २०१८ मा घटेर १६ भयो । यस पटकको गणनामा बाघको संख्या बढ्ने अनुमान गरिएअनुसार नै दोब्बर बढी बढेर ३६ पुग्यो । शुक्लाफाँटामा २००२ मा पनि बाघको संख्या २६ थियो । त्यसपछि घट्दै गएर २००९ मा उक्त संख्या ८ मा झरेको हो । सशस्त्र द्वन्द्वका बेला चोरीसिकारी बढेका कारण बाघको संख्या निकै घटेको थियो । त्यतिबेला संरक्षणकर्मीहरू निकुञ्जभित्र प्रवेश गर्न समेत सकेका थिएनन् ।

Page 3
समाचार

बिमाको अढाई करोड लिन 'नक्कली बिहे' र हत्या

प्रमाण लोप गराउन पत्नी भनिएकी सपनालाई विदेश पठाउने योजना बन्यो, दिल्ली हुँदै जापान जाने तयारीमा रहेकी उनी विमानस्थलबाट पक्राउ परिन्
- कान्तिपुर संवाददाता
बिमाको रकम हत्याउन बाँके कोहलपुरका सर्जन विकको हत्या गरेको आरोपमा पक्राउ परेकाहरू । तस्बिर : कान्तिपुर

बाँकेका युवकको योजनाबद्ध हत्या गरेर एक गिरोहले बिमाबापत अढाई करोड रुपैयाँ भुक्तानी लिएको खुलेको छ । कोहलपुर नगरपालिका–११ का २१ वर्षीय सर्जन विकको हत्या गरी गिरोहले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएर रकम बाँडफाँट गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । बिमा रकम हत्याउनकै लागि विकलाई मार्ने योजनामा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका ३८ वर्षीय दीपक केसी, ३२ वर्षीय सरदार अहमद खाँ, २१ वर्षीया सपना मल्ल, २१ वर्षीया आरती भनिने ललिता सापकोटा, स्याङ्जा वालिङका ३१ वर्षीय सञ्जीव अर्याल र बाँके बैजनाथका ३३ वर्षीय टोपबहादुर राना क्षत्री छन् ।
घटनाको मुख्य योजनाकार नै अर्याल भएको र अरूले सहयोगी बनेर काम गरेको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीले बताए । व्यक्तिको हत्या गरेर गिरोहले बिमा रकम हत्याउन गरेको अपराधको यो शैली प्रहरीका लागि नै अनुसन्धानको नयाँ विषय बनेको उनको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनापछि बिमा कम्पनीबाट विकको श्रीमती भनिएकी मल्लले आफ्नो खातामा रकम ल्याएकी थिइन् । त्यसमध्ये अर्यालले ८० लाख ३६ हजार, केसीले ६० लाख, मल्लले ८६ लाख ८९ हजार, उनकी आमा छविकुमारी खत्रीले १७ लाख ४६ हजार बाँडफाँट गरेको देखिन्छ । त्यस्तै, एटीएम कार्डबाट ३ लाख ३ हजार ५ सय, सामान खरिदबापत सपिङ सेन्टरमा २ लाख ६९ हजार ९ सय र मोबाइल रिचार्जबापत ५ हजार ३ सय १६ रुपैयाँ खर्च भएको देखिएको सीआईबीले जनाएको छ ।
घटनाको अनुसन्धान बिमा ठगीको कसुरबाट अघि बढेको र यसलाई विकको हत्या, त्यसअघि मल्लसँग भएको भनिएको विवाह र विकका नाममा गरिएको बिमालगायतमा केन्द्रित रहेको सीआईबी प्रमुख सुवेदीले बताए । विकको हत्या गरेपछि बिमा रकम दाबी गर्न नै मल्लले शंकास्पद रूपमा विवाह गरेको हुन सक्ने प्रहरीको भनाइ छ । तर, एक पटक विवाह दर्ताका क्रममा भेट भएका दुई जनाबीच त्यसअघि र पछि कतै पनि सम्पर्क नदेखिएको सुवेदीले बताए । रकम हत्याउनकै लागि विकसँग विवाह भएको विषयलाई पुष्टि गर्ने गरी मल्ल मृत्यु संस्कारमा सामेल भइनन् । यो विषयलाई सीआईबीले विकको हत्या गरेर बिमा रकम हत्याउनकै लागि नक्कली श्रीमती बनेको प्रमाणका रूपमा लिएको छ ।
२०७८ वैशाख २ मा भे १० प १७२७ नम्बरको मोटरसाइकलमा सवार विकको टोपबहादुर राना क्षत्रीले चलाएको भे १ ख २४४९ नम्बरको मिनीबसको ठक्करबाट मृत्यु भएको थियो । विकलाई ठक्कर दिएपछि क्षत्री फरार भएका थिए । मोटरसाइकल बिमा एजेन्टका रूपमा काम गर्ने सरदार अहमद खाँको भएको खुल्यो । त्यसकै आधारमा क्षत्री र खाँविरुद्ध प्रहरीमा जोहरी पर्‍यो । दुवै विरुद्ध परेको मुद्दामा फैसला गर्दै बाँके अदालतले क्षत्रीविरुद्ध ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना तथा अर्का आरोपित खाँलाई सफाइ दियो । यता विकको मृत्युको करिब साढे ३ महिनापछि साउन १४ मा मल्लले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँको चेक बुझेर कामना विकास बैंक कोहलपुर शाखामा जम्मा गरिन् । तर नेपाल पुनर्बिमा कम्पनीले घटना शंकास्पद भएको भन्दै अनुसन्धानका लागि २०७८ पुस ३० मा सीआईबीमा पत्र पठाएको थियो । इन्स्योरेन्सका तर्फबाट पनि सीआईबीमा ठगीसम्बन्धी कसुरमा जाहेरी पर्‍यो ।
सीआईबीले अघि बढाएको अनुसन्धानका क्रममा विकले बाँकेको कोहलपुरस्थित कामना विकास बैंकमा २०७७ चैत ५ मा खाता खोलेको देखियो । आवरणमा खाता विकका नाममा खोलिएको भए पनि सबै कागजात र खाता खोल्ने योजना सञ्जीव अर्यालले मिलाएका थिए । त्यसको एक सातापछि मल्लको नाममा पनि अर्यालले त्यही बैंकमा खाता खोलिदिए । दुवैको खाता खोलेपछि फागुन २८ मा अर्यालकै योजनामा विकको जीवन बिमा गरियो । जसमा पत्नी उल्लेख गरेर इच्छाएको व्यक्तिका रूपमा मल्ललाई खडा गरियो । जसमा खाँले विकको २५ वर्षे अवधि समेटेर १ करोड २० लाखको सावधिक जीवन बिमा र ७० लाखको दुर्घटना बिमा गराएको देखिन्छ । म्यादी जीवन बिमाबापत त्यही दिन ५ वर्ष अवधिको ३० लाखको म्यादी जीवन बिमाको दुर्घटना बिमा करार गरेको देखिन्छ । बिमा गरेबापतको पहिलो शुल्कबापत अपराधको योजनाकार भनिएका अर्यालले नै ५ लाख ४० हजार रुपैयाँ तिरेको देखिन्छ ।
चैत २ मा दुई जनाबीच कोर्ट म्यारिज गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसको महिना दिन नबित्दै विकको दुर्घटनामा मृत्यु भएर मल्लले २०७८ साउन १४ मा विकको पत्नी दाबी गर्दै अढाई करोड भुक्तानी लिइन् । रकम भुक्तानीको तारतम्य पनि अर्याल र केसीले मिलाएका थिए ।
प्रहरीका अनुसार अपराध गर्ने योजनाअनुरूप नै आरती भनिने ललिता सापकोटाले अर्याललाई मल्लसँग भेट गराएकी थिइन् । त्यसपछि अर्यालको योजनाअनुसार विकसँग कोर्ट म्यारिज गराई दुर्घटनापछिको रकम दाबीका लागि तयार पारिएको थियो । घटना गराइसकेपछि प्रमाण लोप गराउनकै लागि मल्ललाई विदेश पठाउने योजना बन्यो । यही साउन ९ मा दिल्ली हुँदै जापान जाने तयारीमा रहेकी उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी थिइन् । विकलाई ठक्कर दिने मिनीबसका चालक क्षत्री पनि घटनामा संलग्न व्यक्ति हुन् । उनले ठक्कर दिएर विकको निधन मात्रै भएन, त्यो घटना लुकाउन मल्ललाई विदेश पठाउने एजेन्टका रूपमा काम गर्ने व्यक्ति पनि भएको आशंका प्रहरीको छ ।
कोहलपुरकै दीपक केसीको भूमिका पनि शंकास्पद देखिन्छ । उनी बिमाको रकम भुक्तानी लिन सपनासँगै कोहलपुरबाट काठमाडौं आएका थिए । उनले मल्लबाट ६० लाख रुपैयाँ बुझेको अनुसन्धानबाट खुलेको छ । उनी व्यक्ति हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । घटनाकी अर्की पात्र तथा हाल सीआईबीको नियन्त्रणमा रहेकी सापकोटाले नै मल्ललाई अर्यालसँग भेट गराएर विदेश जान सल्लाह दिएकी थिइन् । उनी अर्यालकी प्रेमिकासमेत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सीआईबी प्रमुख सुवेदीका अनुसार मृतक विक सामान्य आर्थिक अवस्था भएका व्यक्ति हुन् । उनले नै स्वघोषणा गरेको कागजातमा वार्षिक आम्दानी २ लाख उल्लेख गरिएको छ । वार्षिक आयको अधिकतम ४० प्रतिशत मात्रै बिमा गर्न सक्ने प्रावधान रहे पनि बिमा एजेन्टले त्यसलाई बेवास्ता गरेको देखिन्छ । उनको यति धेरै ठूलो रकम बराबरको बिमा गर्नुपर्ने कारण र आधार नभए पनि गिरोहको योजनामा काम भएको प्रहरीको भनाइ छ ।

समाचार

सुन्नबोल्न नसक्नेलाई करणीपछि हत्या

लमजुङ (कास)– सुन्न र बोल्न नसक्ने युवतीलाई करणीपछि हत्या गरेको खुलेको छ । हत्या आरोपमा सुन्दरबजार नगरपालिका–१ कुन्छाका २४ वर्षीय राम सुनार पक्राउ परेका छन् । सुनारले सोही ठाउँकी २८ वर्षीया लीला अछामीलाई शारीरिक सम्बन्धपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
दुवै जना केही महिनादेखि प्रेमसम्बन्धमा रहेको र मंगलबार साँझ खड्केपानीस्थित सामुदायिक वनमा बोलाएर सुनारले करणीपछि हत्या गरेको खुलेको जिल्ला प्रहरीका सूचना अधिकारी जगदीश रेग्मीले बताए । अछामीको शव बिहीबार जंगलको खोल्सामा फेला परेको थियो । सुनार विवाहित भएको र दुईबीचको सम्बन्ध बाहिरिने भयले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रेग्मीको भनाइ छ । बोल्न–सुन्न नसक्ने भए पनि अछामी सांकेतिक भाषामा इसारा गर्न र लेख्न सक्षम थिइन् ।
बेंसीसहरस्थित लमजुङ जिल्ला अस्पतालमा पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइएको छ । डीएसपी कृष्णबहादुर कार्कीका अनुसार सुनारलाई बिहीबार नै पक्राउ गरी शुक्रबार अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

समाचार

सुधारगृहमा लागूऔषध प्रयोगको छानबिन भएन

भैरहवा (कास)– सिद्धार्थनगर–७ गार्गीपथस्थित बाल सुधारगृहभित्रै किशोरहरूले लागूऔषध प्रयोग गर्ने तथ्य बाहिरिँदा पनि छानबिनमा सरकारले चासो देखाएको छैन । भित्रका किशोरले नशालु पदार्थको सुरमा अभद्र र अश्लील व्यवहार गर्ने गरेका छन् । १७ जनालाई स्थानान्तरण गर्न गत असार ७ मा रूपन्देही प्रशासनले सुधारगृहमा बल प्रयोग गर्नुपरेको थियो । सो क्रममा खानतलासी गर्दा २० ग्राम गाँजा, एक दर्जन मोबाइल, आठ/दसवटा फलामे डन्डा, किलाकाँटा र काठका टुक्रा फेला परेको थियो ।
बाह्रैमास सुरक्षाकर्मीको तैनाथी रहने सुधारगृहभित्र प्रतिबन्धित सामान कसरी पुग्यो भन्नेमा प्रहरीसमेत छक्क परेको छ । ४० जना क्षमताको सुधारगृहमा १ सय १० जनालाई राख्दा व्यवस्थापन भद्रगोल थियो । सुधारगृहकी प्रमुख शुभद्रा गौतमले सुरक्षा निकायले जाँच गरी केही बन्दीलाई स्थानान्तरण गरेपछि अवस्था शान्त भए पनि प्रतिबन्धित सामग्री बारेमा छानबिन भए/नभएको आफूलाई जानकारी नभएको बताइन् ।  
सुधारगृहमा मोबाइल प्रयोग गर्न पाइँदैन । तर, मोबाइलको प्रयोगबाटै लागूऔषध मगाउने गरेको स्थानीय बताउँछन् । गत चैत ६ मा भित्र फालिएको ७ सय ग्राम गाँजा, नाइट्रोभेट–१० एक सय २ गोली र स्पास्मो ६४ गोली सीसीक्यामेराबाट देखेपछि नियन्त्रणमा लिएर नष्ट गरेको सुधार गृहका कर्मचारी पीताम्बर न्यौपानेले बताए । ‘सामान भित्र फालिएको देखियो तर कसले फालेर गयो भन्ने देखिएन,’ उनले भने, ‘सुधारगृहभित्र देखिएका र हुने गरेका सबै गतिविधि स्थानीय प्रशासनलगायत मन्त्रालयसमक्ष मौखिक रूपमा जानकारी हुने गर्छ ।’
रूपन्देहीका एसपी रवीन्द्र रेग्मी सुधारगृहभित्र नशालु पदार्थलगायतका प्रतिबन्धित सामान पुग्नुमा मोबाइलकै प्रयोग भएको बताउँछन् । ‘मोबाइल पहिल्यैदेखि उनीहरूको हातमा कसरी पुग्यो भन्नेबारे खोजी र छानबिनको विषय हो,’ उनले भने, ‘मोबाइलबाट सम्पर्क गरेर नै त्यहाँ रहेका किशोरले नशालु पदार्थलगायतका प्रतिबन्धित सामान बाहिरबाट मगाउने गरेका हुन् ।’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बाल संरक्षण महाशाखाका प्रमुख तथा मन्त्रालयका प्रवक्ता ध्रुवराज पण्डितले यसबारेमा छानबिनका लागि स्थानीय प्रशासनसँग सोधखोज र छलफल गरिने बताए ।

समाचार

हिरासतमै यौन दुर्व्यवहार !

नेपालगन्ज (कास)– इलाका प्रहरी कार्यालय कोहलपुरका हिरासत व्यवस्थापन अधिकृत असई प्रवीण चौलागाईंमाथि यौन दुर्व्यवहार आरोप लागेको छ । शुक्रबार बिहान २ बजे सोधपुछ गर्नुछ भन्दै हिरासतको अर्को कोठामा लगेर आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित ३३ वर्षीया एक महिलाले बताएकी छन् । बहुविवाह गरेको भन्दै जेठी पत्नीले जाहेरी दिएपछि कैलालीको जानकी गाउँपालिकाकी ती महिलालाई प्रहरीले श्रीमान्सहित बुधबार पक्राउ गरेको थियो । आफूलाई घरमै छाडेर काठमाडौंमा पढ्न गएका श्रीमान्ले अर्को बिहे गरेको जेठीको जाहेरीमा उल्लेख छ ।
‘बहुविवाह गर्ने केटा र ती महिलालाई राखिएको हिरासत कक्ष नजिकै छ । महिलालाई राति निकाल्ने क्रममा उनले देखेका रहेछन्,’ इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक नवचन्द्र मल्लले भने, ‘केटाले शुक्रबार बिहानै मेरी श्रीमतीलाई राति किन बाहिर लगेको भन्दै विरोध जनाएपछि घटना सार्वजनिक भएको हो ।’ उनका अनुसार घटनाबारे सोधपुछ गर्दै जाँदा महिलाले असई चौलागाईंले आफूलाई लछारपछार गर्दै दुर्व्यवहार गरेको बयान
दिएकी छन् ।
यौन दुर्व्यवहार आरोप लागेका चौलागाईंलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसूधन न्यौपानेले बताए । ‘घटना संवेदनशील छ । त्यसैले आरोपित असईलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेका छौं,’ उनले भने ।

Page 4
वाग्मती प्रदेश

अझै समातिएनन् ७७ वर्षदेखिका फरार

मकवानपुर अदालतको फरार सूचीमा ९५ विदेशीसहित २९१५ जना
दोषीबाट ३ हजार ७ सय ६६ वर्ष कैद र ३२ करोड रूपैयाँभन्दा बढी जरिवाना असुल्न बाँकी
- प्रताप विष्ट

(हेटौंडा)
अदालतबाट दोषी ठहर भई कैद र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ९ सय १५ जना अभियुक्तहरू अझै फरार छन् । यो सूची ७६ वर्षअघिदेखिको हो । २००२ माघ २३ मा चोरीडकैती मुद्दामा स्थानीय दिलिप पाख्रिन, कोमल खत्री र ठुले चौरेललाई तत्कालीन चिसापानी अदालतले ६ वर्ष कैद र ३ हजार १ सय ७२ रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनीहरू अझैसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरूको मृत्यु भए–नभएकोबारे समेत जिल्ला अदालत जानकार छैन ।
फरार सूचीमा ९५ जना विदेशी नागरिक छन् । दोषी ठहर भएर पनि फरार रहेकाहरूको सूची जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाइने गरे पनि अझै धेरै अभियुक्त पक्राउ नपरेका जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । केही वर्षयता दोषी ठहर भई फरार भएकाहरूको सेवा सुविधा रोक्का गर्न अदालतले जिल्लास्थित विभिन्न सरकारी निकाय र स्थानीय तहहरूलाई परिपत्र गर्दै आएको छ । सोही आधारमा गत वर्ष राक्सिराङ गाउँपालिकाले लागूऔषधसम्बन्धी मुद्दामा फरार ४ जनाको सेवा सुविधा रोकेको थियो । तर, यो संख्या उल्लेख्य नरहेको श्रेस्तेदार भट्टराई बताउँछन् ।
गत आर्थिक वर्ष ०७८/७९ मा मकवानपुर प्रहरीले १ सय २६ जना फरार अभियुक्तलाई पक्रेर कैद र जरिवाना भुक्तानीका लागि अदालतमा उपस्थित गराएको थियो । मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले कसुर प्रमाणित भइसकेका फरार व्यक्ति पक्राउ गर्न सबै क्षेत्रका प्रहरीलाई सक्रिय बनाइराखेको बताए । ‘दोषीलाई पक्रेर सजाय दिलाउन सके मात्र पीडितलाई न्यायको अनुभूति मिल्छ, त्यसमाप्रहरी सदैव लागिरहेको छ,’ उनले भने ।
अदालतले गरेको फैसला कायान्वयन नहुँदा अदालतप्रतिको आस्थामा पनि क्रमशः ह्रास आउने कानुन व्यवसायीहरू बताउँछन् । ‘बर्सेनि जरिवाना र कैदको बक्यौता वृद्धि हुनु र दोषीहरू फरार भइरहनुले अदालतको फैसला कार्यान्वयनप्रति मात्र होइन, फैसलाको औचित्यमाथि नै प्रश्न उठ्ने गर्छ,’ अधिवक्ता मदन दाहालले भने ।
फैसलाअनुसारको दण्ड जरिवाना संकलन नहुँदा जिल्ला अदालतले उठाउनु पर्ने जरिवाना रकम नै ३२ करोड ६२ लाख ३४ हजार १ सय ८२ रुपैयाँ पुगिसकेको छ । त्यस्तै, कैद लगत ३ हजार ७ सय ६६ वर्ष १ महिना ९ दिन पुगेको छ । यो आँकडा पछिल्लो एक वर्षमा १ सय ११ वर्ष थपिएको हो । ‘कैद र जरिवाना तोकिएका कति अपराधी लुकीछिपी हिँडिरहेकै छन्,’ अर्का अधिवक्ता ईश्वर ढकालले भने, ‘अदालतको गरिमा फैसलामा भन्दा कार्यान्वयनमा रहन्छ । वादी प्रतिवादीले अदालतको फैसलाको अनुभति गर्न पाउनु पर्छ, अनि मात्र फैसलाको महत्व रहन्छ ।’ कैद र जरिवाना लगत जति घट्यो उति अदालतको कार्यान्वयन पक्ष सक्षम देखिने उनको भनाइ छ ।
जरिवाना र कैदको बक्यौता उठाउन अदालतले डोर पठाउने मात्र नभई प्रहरी प्रशासनसँग सहकार्य गर्दै आएको श्रेस्तेदार भट्टराईले दाबी गरे । केही वर्षयता स्थानीय तहसँग पनि सहकार्य अघि बढाइएको उनको भनाइ छ ।
यसैबीच, जिल्ला अदालतले गत आवमा ६० प्रतिशतभन्दा बढी मुद्दाको फैसला गरेको छ । अदालतमा एक वर्षमा ३ हजार २३ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये १ हजार ८ सय १ थान मुद्दा फर्छ्योट भएको श्रेस्तेदार भट्टराईले जानकारी दिए । उनका अनुसार २ वर्ष नाघेका २ थान मात्रै मुद्दा बाँकी छन् । अदालतमा ४ जना न्यायाधीश छन् ।

वाग्मती प्रदेश

नासलचोक खुला

काठमाडौं (कास)– हनुमानढकोका दरबार क्षेत्रको मुख्य र ठूलो नासलचोक आगन्तुकका लागि खुला गरिएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि नासलचोक प्रवेशमा रोक लगाइएको थियो । पुनर्निर्माण सम्पन्न भएकाले पर्यटकहरू नासलचोकका अतिरिक्त गद्दी बैठक र ढुकुटीमा समेत प्रवेश गर्न पाउने हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले बताए । ‘दरबारका अरु ठाउँ पनि क्रमशः खुल्दै जानेछन्,’ उनले भने, ‘नौतले दरबारको जीर्णोद्वार पनि अन्तिम चरणमा पुगेको छ ।’
सुवर्णद्वारबाट निस्कनासाथ पुगिन्छ नासलचोक । यो चोकको वरिपरिका धेरै सम्पदा शाहकालमा बने पनि केही मल्लकालीनसमेत छन् । चोकको पूर्वपट्टि मुलचोक पर्छ । मुलचोक भने अझै खुलेको छैन । पूर्वदक्षिण कुनामा वसन्तपुर, दक्षिणतर्फ सडक, पश्चिमतर्फ लामाचोक र दाखचोक तथा उत्तरतिर मोहनचोक पर्छ । नासलचोकको पूर्वतर्फ नासल देवताको सानो देवल छ । इतिहासकार गौतमबज्र बज्राचार्यका अनुसार यही देवताको नामबाट यो चोकको नामकरण गरिएको हो । कुनै बेला यही स्थानमा राजा र प्रजाको भेटसमेत हुने गर्थ्यो । नारायणहिटी सर्नुअघि यही दरबारबाट राजकाज सञ्चालन हुन्थ्यो । ‘राजकाजसँग सम्बन्ध राख्ने कुनै पनि विषयमा गुनासो गर्नुपरे प्रजाहरू यही चोकमा आउँथे,’ बज्राचार्यले आफ्नो पुस्तक ‘हनुमानढोका राजदरबार’ मा लेखेका छन्, ‘राजपरिवारलाई कुनै दुःख आइपरेमा पनि प्रजा यही चोकमा आएर समवेदना प्रकट गर्थे । केही दशकअघिसम्म पनि यो प्रचलन हराएको थिएन ।’
शाह राजाको राज्याभिषेक समारोहसमेत यहीं हुन्थ्यो । मल्लकालमा भने राज्याभिषेकको काम मूलचोकमा गरिन्थ्यो । अन्तिम शाह राजा ज्ञानेन्द्रको राज्याभिषेक पनि नासलचोकमै भएको थियो । ‘राजाको राज्याभिषेक यहीं हुन थालेकाले शाहवंशमा यो चोकले महत्त्वपूर्ण स्थान ग्रहण गर्‍यो,’ बज्राचार्यले लेखेका छन् । उनका अनुसार बौद्ध धर्मावलम्बीका गुभाजुको चूडाकर्म गर्दा नासलचोक आएर राजगद्दीमा पानसुपारी चढाउनुपर्ने परम्परा छ । यसरी पानसुपारी चढाउन नआएको खण्डमा चूडाकर्मको विधि पूरा भएको नमानिने जनविश्वास छ ।
हनुमानढोका दरबारक्षेत्र प्रवेश गर्ने स्वदेशी र विदेशी पर्यटकले पूरै संग्रहालय भने हेर्न अझै पाउँदैनन् । भूकम्पले क्षति पुर्‍याएको मुख्य संग्रहालयको पुनर्निर्माण चलिरहेको खनालले जानकारी दिए ।

वाग्मती प्रदेश

हेटौंडामा मासिक १० हजार लिटर खानेपानी निःशुल्क

हेटौंडा (कास)– हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बिहीबारको बैठकले नगरवासीलाई खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । हाल उक्त परिमाणको पानीको न्यूनतम मासिक शुल्क ८५ रुपैयाँ छ । यो निर्णय बोर्डअन्तर्गत जडान भएका २३ हजार ५ सय धाराको हकमा मात्र लागू हुने प्रमुख लामाले बताइन् । ‘यसबाट १ लाख ४५ हजार नगरवासी लाभान्वित हुनेछन्,’ उनले भनिन्, ‘यसबापत नगरले बोर्डलाई वार्षिक २ करोड ३९ लाख उपलब्ध गराउनेछ ।’

वाग्मती प्रदेश

रक्तदाता कर्माचार्य सम्मानित

काठमाडौं (कास)– ५६ औं राष्ट्रिय रक्त सञ्चार दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य सम्मानित भएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखासँगको समन्वयमा बिहीबार उनीसँगै स्थानीय रक्तदाता ज्योति कार्की पौडेल, कृति गुभाजू शाक्य र प्रवाशकुमार शाक्यलाई पनि सम्मान गरेको हो । सुर्खेतमा आयोजित कार्यक्रममा उनले १७१ औं पटक रक्तदान गरेका छन् । साथै कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्यको अध्यक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखा गठन गरिएको छ ।  कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन् ।

वाग्मती प्रदेश

काभ्रेमा एक महिनामा डेंगुका ११ बिरामी

काभ्रे (कास)– जिल्लामा एक महिनामा ११ जनामा डेंगु पुष्टि भएको छ । असार १० यता १ सय ३ जना बिरामीको परीक्षण गरिएकोमा ११ जनामा डेंगु ज्वरो देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईंले बताए । उनका अनुसार धुलिखेलका ४, पनौतीका २ र बनेपा र पाँचखालका १/१ जनामा संक्रमण देखिएको छ । दोलखा, सिन्धुपाल्चोक र काठमाडौंका १/१ जनालाई पनि काभ्रेमा उपचारको क्रममा डेंगु पुष्टि भएको छ । जसमध्ये एकको काठमाडौं मेडिकल कलेजको आईसीयूमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

Page 5
अर्थ वाणिज्य

इन्डोनेसियाको सुपारी नेपाल हुँदै भारत पुर्‍याउँदा किलोमै ७५ रुपैयाँ सस्तो, मौलायो तस्करी

एउटा फर्मको नाममा ल्याएर अर्को फर्मबाट निर्यात
आयातभन्दा प्रतिकिलो ५२ रूपैयाा सस्तोमा निर्यात गर्छन् नेपाली व्यवसायी
- देवनारायण साह
विराटनगरस्थित इलाका प्रहरी रानीले एक साताअघि नियन्त्रणमा लिएका सुपारीसहितका भारतीय ट्रक । तस्बिर : देवनारायण/कान्तिपुर

(मोरङ)
विराटनगरको रानी नकास्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएका आठ ट्रक सुपारीबारे राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान थालेको छ । इन्डोनेसियाबाट आयातित ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको आठ ट्रक सुपारी भारततर्फ निर्यात गर्न लागेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी शुक्रबार राति नियन्त्रणमा लिएर कारबाहीका लागि उक्त कार्यालयलाई आइतबार बुझाएको छ । सुपारीको उत्पत्तिको प्रमाणपत्रका कागजात जाँच्ने काम भइरहेको कार्यालयका प्रमुख अनुसन्धान अधिकृत तीर्थराज खनालले बताए ।
विराटनगर नाकाबाट सुपारी आयात गर्नेमा सौर्य एयरलाइन्सका सञ्चालक झापाका दीपक पोखरेलको अम्बे ट्रेडिङ, विराटनगरका दिनेश राठीको राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेसनल विराटनगरका प्रदीप मुरारकाको पीके ट्रेडर्स, विराटनगरका मूलचन्द राठीको तिरुपति ट्रेडलिंक्स र विराटनगरकै सञ्जय अग्रवालको नेसनल मोटर्स छ । तर निर्यात गर्नेमा मनोकामना ट्रेडर्स मात्रै रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
सुपारी आयातकर्ता समूहले इन्डोनेसियाबाट प्रतिकिलो ४ सय ५५ रुपैयाँमा ल्याएको सुपारी प्रतिकिलो ४०३ रुपैयाँका दर अर्थात् आयात गरेको भन्दा ५२ रुपैयाँ सस्तोमा भारत निर्यात गरेको पाइएको छ । अम्बे ट्रेडिङ, राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेसनल, पीके ट्रेडर्स, तिरुपति ट्रेड लिंक्स र नेसनल मोटर्सले गत आर्थिक वर्षमा ५७ लाख ४८ हजार २ सय ६० किलो सुपारी आयात गरेका थिए । गत असारमा मात्रै आयातकर्ताले प्रतिकिलो २०२ दशमलव ६६ रुपैयाँमा ३७ करोड ३९ लाख ७५ हजार मूल्य बराबरको १८ लाख ४५ हजार ३ सय ६० किलो सुपारी विराटनगर भन्सारबाट ल्याएका गरेका छन्, भन्सार कार्यालयले त्यसको प्रतिकिलो २५२ दशमलव ३५ रुपैयाँका दरले ४६ करोड ५६ लाख ७६ हजार राजस्व असुलेको छ । आयात गरिएकामध्ये विराटनगरका नवीन घिमिरेको मनोकामना ट्रेडर्स विराटनगर १४ का नाममा गत असारसम्ममा ४०३ दशमलव २० रुपैयाँका दरले ९० करोड ६७ लाख १८ हजारको २२ लाख ४८ हजार ८ सय ५ किलो सुपारी भारत निर्यात भएको भन्सार कार्यालयका प्रवक्ता रामचन्द्रप्रसाद ढुंगानाले जनाए ।
मनोकामना ट्रेडर्सका नवीन घिमिरे सुपारी आयाकर्ता दीपक पोखरेलका साला हुन् । मोरङ क्रिकेट संघका अध्यक्ष घिमिरेले विराटनगरमा लज सञ्चालन गर्दै आएका छन् । उनी क्रिकेट संघ प्रदेश १ का उपाध्यक्षसमेत हुन् । सुपारी निर्यात गर्ने यति ठूलो कारोबार नवीनको भन्नु नै हास्यास्पद हुने विराटनगरका एक व्यवसायी बताउँछन् । विराटनगर र झापाका सुपारी आयात गर्नेहरूले नवीनका नाममा फर्म सञ्चालन गरेर एउटा फर्मका नाममा आयात गर्ने र अर्को फर्मका नाममा निर्यात गर्ने ‘खेल’ चलिरहेको उनको भनाइ छ ।
यस खेलमा सौर्य एयरलाइन्सका सञ्चालक पोखरेलको विशेष भूमिका रहेको विराटनगरका व्यवसायीहरूको भनाइ छ । पोखरेलले नै विराटनगरका व्यापारीलाई सुपारी आयातमा संलग्न गराई सेटिङमा कारोबार गरिरहेको व्यवसायीहरूको दाबी छ । झापा र मोरङका धेरै व्यापारी ०४६ सालदेखि नै सुपारीको आयात–निर्यातमा संलग्न रहेको बताइन्छ । कोरोनाका कारण मोरङको लेटाङका ईश्वरी कोइरालाको मृत्यु भएपछि त्यसको नेतृत्व दीपकले गरिरहेको व्यवसायीहरू बताउँछन् ।
इन्डोनेसियाबाट सोझै भारतमा सुपारी आयात गर्दा भन्सार महसुल ८० र जीएसटी २८ प्रतिशत गरी प्रतिकिलो ३५० दशमलव १९ रुपैयाँ राजस्व बुझाउनुपर्छ । तर इन्डोनेसियाबाट नेपाल हुँदै भारत लैजाँदासम्म प्रतिकिलो २७५ रुपैयाँ मात्रै खर्च पर्ने गरेको विराटनगर भन्सारका एक एजेन्टले बताए । अहिले पक्राउ परेको ८ करोड ६३ लाख ८१ हजार ५६८ रुपैयाँ मूल्य बराबर सुपारीमा भारतीय कस्टमले ५ प्रतिशत अर्थात् ४३ लाख ७४ हजार ७ सय ७६ रुपैयाँ राजस्व लिएको छ ।
‘नेपालबाट भारत सुपारी लग्दा भारतीय व्यापारीलाई प्रतिकिलो ७५ रुपैयाँ सस्तो पर्छ,’ ती एजेन्टले भने, ‘नेपालमा ४२५ देखि ४६० रुपैयाँ किलोमा पाउने सुपारी भारतमा त्योभन्दा १ सय रुपैयाँ महँगोमा बिक्री हुने गरेकाले करिब दुई सय रुपैयाँ मुनाफाका कारण नेपालबाट तस्करी भइरहेको छ ।’ भन्सारबाटै वैधानिक रूपमा भारत निर्यात भइरहेकालाई तस्करी पनि भन्न नमिल्ने उनको भनाइ छ । नेपालका सुरक्षाकर्मी, भन्सार कर्मचारीलगायत गृहमन्त्री तथा प्रधानमन्त्री कार्यालयसम्मको सेटिङमा सुपारी आयात भएर निर्यात भइरहेको यहाँका व्यवसायी नै दाबी गर्छन् ।
व्यावसायिक सुपारी खेती भइरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि ज्ञान केन्द्र इकाइले भएकोभन्दा बढी क्षेत्रफल र उत्पादनको फर्जी तथ्यांक समेत सार्वजनिक गर्दै आएका छन् । व्यापारीको दबाब र प्रभावमा कृषि ज्ञान केन्द्रले सुपारी खेती र उत्पादनको फर्जी तथ्यांक तयार पारिरहेको कृषि ज्ञान केन्द्रकै एक अधिकृतले बताए । व्यापारीले भनेअनुसारको तथ्यांक तयार नगर्नेलाई ज्ञान केन्द्रबाट तत्कालै सरुवा गराइदिने गरेकाले कर्मचारीहरू फर्जी तथ्यांक बनाउन बाध्य रहेको उनको भनाइ छ ।

अर्थ वाणिज्य

डीएनए परीक्षण गर्न निर्देशन

काठमाडौं (कास)– संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिले विराटनगर नाकाबाट नियन्त्रणमा लिइएको सुपारीको डीएनए परीक्षण गर्न निर्देशन दिएको छ । बैठकले डीएनए परीक्षण विधिबाट सुपारी स्वदेशी वा विदेशी पत्ता लगाउन सरकारलाई शुक्रबार निर्देशन दिएको हो । ‘विराटनगरस्थित रानी नाकाबाट नियन्त्रणमा लिइएका आठ ट्रक सुपारीको सन्दर्भमा डीएनए परीक्षण गर्न निर्देशन दिएका छौं । बैठकको मुख्य एजेन्डा नै यही थियो,’ समिति सदस्य महेशकुमार महराले भने, ‘सुपारी नेपाली हो/होइन, पहिचान भएपछि दोस्रो बैठक बस्छौं । आवश्यक ठहरिएर छानबिन गर्छौं ।’
एक साताअघि आठ वटा ट्रकमा भारततर्फ निर्यात गर्न लागिएको सुपारी प्रहरीले नियन्त्रणमा लिएको थियो । ती ट्रकमा ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी रहेको प्रहरीले जनाएको छ । एकै पटक धेरै परिमाणको सुपारी भारततर्फ निकासी गर्न लागेकोबारे स्थानीयले गुनासो गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले एनएल ०१ एडी २६४८, यूपी४५टी १६२४, यूपी६२सीटी ०६२७, यूपी५०एटी ३१५८, यूपी५४टी ६४२९, यूपी६२बीटी ८१२१, यूपी५०बीटी ७२७७, एमओ०९एचजी ८३२० नम्बरको भारतीय ट्रक र चालकलाई प्रहरीले सुपारीसहित नियन्त्रणमा लिएको हो । सुपारीसहितका ती ट्रक थप अनुसन्धानका लागि राजस्व अनुसन्धान इकाई इटहरीमा बुझाइएको छ ।
नियन्त्रणमा लिइएको सुपारी विराटनगरका नवीन घिमिरेको मनोकामना ट्रेडर्स विराटनगर–१४ को नामबाट कारोबार भएको छ । समितिले आन्तरिक उत्पादन, खपत, उद्योगको संख्या र उद्योगको क्षमतासहितको विवरण तयार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयलाई भनेको छ । नेपालमा वार्षिक ८ हजार ७ सय ७२ टन उत्पादन हुने कृषि मन्त्रालयको तथ्यांक छ । उद्योगको माग र उपभोगको परीक्षणको यकिन तथ्यांक भने छैन ।
०७८/७९ मा १३ हजार २ सय ९ टन अर्थात् १ करोड १९ लाख ८२ हजार ९ सय ३५ किलो सुपारी आयात भएको भन्सार विभागले जनाएको छ । कृषि मन्त्रालयको तथ्यांक स्पष्ट नभएको भन्दै समितिले उपभोग गर्ने उद्योगको संख्या, आन्तरिक उत्पादन, क्षमतासहित विस्तृत तथ्यांक संकलन गर्नसमेत निर्देशन दिएको छ । ‘अर्को बैठकमा विस्तृत तथ्यांक मागेका छौं,’ सांसद महराले भने, ‘सुपारीको डीएनए रिपोर्ट पनि हुन्छ । त्यसपछि थप निष्कर्षमा पुग्छौं ।’
यसअघि समिति स्वयंले गठन गरेको उपसमितिले वार्षिक ५/७ हजार टन मात्रै आवश्यक रहेको प्रतिवेदन तयार पारेको थियो । तस्करी गर्नकै लागि पर्याप्त मात्रामा आयात गर्न दिइएको उल्लेख छ । उपसमितिले बनाएको रिपोर्ट यत्तिकै थन्कियो । पछिल्लो समय औद्योगिक कच्चा पदार्थका नाममा सरकारले माग जति नै आयात इजाजत दिएको छ । व्यापारीलाई मागेअनुसार कोटा दिन ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चा पदार्थ सुपारी, केराउ र मरीच पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८’ लाई परिमार्जन गरिएको छ ।

अर्थ वाणिज्य

व्यावसायिक निरन्तरता कर्जा लिनेमा ५९% शैक्षिक संस्था

काठमाडौं (कास)– कोभिड प्रभावित उद्योग व्यवसाय निरन्तरतामा सघाउने उद्देश्यले अघिल्लो वर्षदेखि सरकारले सञ्चालन गरेको ५ प्रतिशत ब्याजदरको व्यावसायिक निरन्तरता कर्जा लिनेमा संख्याका आधारमा शैक्षिक संस्था सबैभन्दा अघि देखिएका छन् । कर्मचारीलाई बैंकमार्फत नियमित तलब तथा ज्याला भुक्तानी गरेको, कानुनबमोजिम अग्रिम आयकर कट्टी र दाखिला गरेकोलगायत प्रमाणपत्र चाहिने भएकाले उद्योगी व्यवसायीले उक्त कर्जा लिन नसकिरहेका बेला शैक्षिक संस्थाले भने यस्तो कर्जा लिएका हुन् ।
रकमका आधारमा भने शैक्षिक संस्थाले लिएको कर्जा कुल व्यावसायिक निरन्तरता कर्जाको करिब ३५ प्रतिशत मात्र हो । अन्य क्षेत्रका १४ वटा कम्पनीले बाँकी ६५ प्रतिशत कर्जा उपयोग गरेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत जेठसम्म कुल ७९ करोड ८२ लाख ६७ हजार रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ । उक्त अवधिमा ८ वाणिज्य बैंकले ३४ कम्पनीलाई उल्लिखित रकम बराबरको कर्जा प्रवाह गरेका हुन् । यसमध्ये २० शैक्षिक संस्थाले करिब २७ करोड ६३ लाख ४ हजार रुपैयाँ र बाँकी १४ संस्थाले करिब ५२ करोड १९ लाख ६३ हजार रुपैयाँ व्यावसायिक निरन्तरता कर्जा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यस शीर्षकमा करिब ३४ करोड रुपैयाँ प्रवाह भएकामा गत पुससम्म एउटा मात्र शैक्षिक संस्थाले यस्तो कर्जा सुविधा लिएको थियो । त्यसयता भने थप ३३ संस्थाले सस्तो ब्याजदरको कर्जा सुविधा लिएका हुन् ।
गत जेठसम्म ५ प्रतिशत ब्याजदरको व्यावसायिक निरन्तरता कर्जा लिने ३४ कम्पनीमा २० वटा शैक्षिक संस्था छन् । यो कुल संख्याको करिब ५९ प्रतिशत हो । बाँकी १४ कम्पनीमा पर्यटन, फर्मास्युटिकल्स, एयरलायन्सलगायत क्षेत्रका छन् । गत जेठसम्म म्यानुफ्याक्चरिङ क्षेत्रका एउटा पनि कम्पनी (उद्योगी व्यवसायी) ले यस्तो कर्जा लिएनन् । व्यावसायिक निरन्तरता कर्जाको कार्यविधिमा तोकिएको मापदण्ड (जस्तै, कर्मचारीलाई बैंकमार्फत तलब भत्ता प्रदान, करचुक्ता प्रमाणपत्र आदि) पूरा गर्न नसक्दा ५ प्रतिशतको सस्तो ब्याजदरको कर्जाबाट उद्योग व्यवसायी वञ्चित भएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘यसले उद्योगी व्यवसायीमा व्यावसायिक पारदर्शिता, सुशासनलगायतमा कमजोरी देखाउँछ,’ ती अधिकारीले भने, ‘नत्र सस्तो कर्जा लिन किन पछि पर्थे ?’
सैद्धान्तिक रूपमा राम्रो देखिए पनि कार्यविधिमा व्यावहारिक अप्ठ्यारा धेरै रहेकाले व्यावसायिक निरन्तरता कर्जामा आफूहरूको पहुँच नपुगेको उद्योगी व्यवसायीहरूको भनाइ छ । सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमार्फत कोभिडबाट प्रभावित उद्योगी व्यवसायीका लागि ५० अर्ब रुपैयाँको कोष स्थापना गर्ने र त्यसैबाट ५ प्रतिशत ब्याजदरमा व्यवसायीलाई कर्जा प्रदान गर्ने भनेको थियो । यस कार्यक्रमलाई सरकारले गत आर्थिक वर्षमा पनि निरन्तरता दिएको थियो । चालु आर्थिक वर्षको बजेटमा भने उक्त कार्यक्रम छैन ।
कार्यविधि व्यावहारिक हुन नसक्दा धेरैले  ५ प्रतिशत ब्याजदरको व्यावसायिक निरन्तरता कर्जा लिन नसकेको निजी क्षेत्रका छाता संगठन बताउँछन् । ‘कार्यविधिअनुसार कागजात पुर्‍याउनै गाह्रो थियो,’ नेपाल उद्योग वाणिज्य महासंघका एक पूर्वअध्यक्षले भने, ‘त्यसका जटिल व्यवस्था परिमार्जन गर्न हामीले आग्रह गरेका थियौं, अब कार्यक्रम नै सकियो, ठीकै भयो ।’

अर्थ वाणिज्य

जथाभावी घोषणा गर्दा गौरवका आयोजनामा छैन प्रगति

एक दशकमा घोषित २४ आयोजनामध्ये दुई वटाको मात्र काम सकियो
- विमल खतिवडा

(काठमाडौं)
सरकारले आर्थिक वर्षर् ०६८/६९ बाट राष्ट्रिय गौरवका आयोजना घोषणा गर्न थालेको हो । त्यसपछि प्रत्येक वर्षजसो तिनका लागि बजेट विनियोजन भइरहेकै छ । बीचबीचमा थप नयाँ गौरवका आयोजना पनि घोषणा भइरहे । सुरुमा १७ वटा आयोजनालाई गौरवका मानेर अघि बढाइएकामा अहिलेसम्म तिनको संख्या २४ पुगेको छ ।
तर समग्रमा यी आयोजनाको प्रगति सन्तोषजनक छैन नै, कतिपय आयोजनाको ढाँचा र लगानीको स्रोतसमेत पहिचान हुन सकेको छैन । यसले प्रस्ट्याउँछ, हाम्रा गौरवका आयोजना कसरी अघि बढिरहेका छन्, यिनको गति कसरी गिजोलिएको छ । त्यसका केही उदाहरण हुन्– पश्चिम सेती जलविद्युत् आयोजना, बुढीगण्डकी जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । यिनमा एकातिर अझैसम्म लगानीको स्रोतको विषय टुंगो लागेको छैन भने आयोजनाको ढाँचासमेत तयार हुन सकेको छैन ।
पश्चिम सेती जलविद्युत् आयोजनामा जग्गा अधिग्रहण, प्रसारण लाइन, अधिक बिजुली खपत, महसुलबारे सम्बन्धित निकायसँग परामर्श भइरहे पनि आयोजनाको ढाँचा
(मोडालिटी) लगायत आधारभूत विषय यकिन भएको छैन । बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन र निर्माणको मोडालिटी तय भइनसकेकाले निर्माण सुरु गर्न ढिलाइ भएको संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म रूख कटानको काम, टाँगिया बस्ती व्यवस्थापनलगायतको काम हुन सकेको छैन । समितिले ०७७ पुस २८ मा २४ वटा गौरवका आयोजनाको अवस्थाबारे अध्ययन गर्न गठित तीनवटा उपसमितिले सबै आयोजनाको अध्ययन गरेका थिए । उपसमितिको प्रतिवेदनले गौरवका आयोजना हल्का रूपमा घोषणा गर्दै संख्या बढाए पनि प्रगति सन्तोषजनक नभएको औंल्याएको हो ।
राष्ट्रिय गौरवका आयोजना मुलुकको विकासको आधारशिला भए पनि तयारीसाथ आयोजना घोषणा नगर्दा बढी समस्या देखिएको समितिले शुक्रबार आयोजना गरेको छलफलमा उपसमिति संयोजक अनिता देवकोटाले बताइन् । ‘छुट्टै कानुन बनाएर भए पनि गौरवका आयोजनाको काम सक्नुपर्छ, काम रोकिनुहुँदैन,’ उनले भनिन्, ‘त्यसैले फास्ट ट्र्याकमा काम सक्नुको विकल्प छैन ।’ केही आयोजनाको काम चाँडो भए पनि धेरैजसोको गति सुस्त रहेको समितिले जनाएको छ । ‘अन्तरमन्त्रालय, अन्तरनिकायबीच समन्वय अभाव धेरै नै देखियो,’ उनले भनिन्, ‘आयोजनामा जति ढिला भएको छ, त्यति नै लागत बढिरहेको पाइयो ।’
गौरवका आयोजनालाई गौरव गर्न लायक बनाउनुपर्नेमा अर्का उपसमिति संयोजक शेखरकुमार सिंहको जोड छ । ‘गौरवका आयोजनाले राष्ट्रको मुहार फेर्न सक्छन् । त्यसैले समयमै तिनको निर्माण सक्नुपर्छ,’ उनले भने, ‘यस्ता आयोजना प्रधानमन्त्री कार्यालयले नै हेर्ने व्यवस्था मिलाइनुपर्छ ।’ टाढाटाढाबाट निर्माण सामग्री ल्याउनुपर्दा पनि काममा प्रगति कम देखिएको उनको भनाइ छ ।
आर्थिक वर्षर् ०६८/६९ मा १७, ०७०/७१ मा ४, ०७५/७६ मा १, ०७६/७७ मा १ र ०७७/७८ को बजेट वक्तव्यमार्फत एउटा गरी गौरवका आयोजनाको संख्या सरकारले २४ पुर्‍याएको हो । एक शतक बित्दासमेत न्यून संख्यामा मात्र गौरवका आयोजना सकिएको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले जनाइन् । ‘माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मात्र सम्पन्न भएर सञ्चालनमा आएका छन्,’ उनले भनिन्, ‘सम्पन्न हुने चरणमा मेलम्ची खानेपानी आयोजना र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल छन् ।’
‘कतिपय आयोजना यस्ता छन्, जसलाई गौरवका आयोजनामा राख्नुपर्दैनथ्यो । तर त्यस्ता आयोजनालाई पनि गौरवका मानिएको छ,’ थापाले भनिन् । काममा प्रगति नहुनुको मुख्य कारण अन्तरमन्त्रालय समन्वय नहुनु नै रहेको उनले जनाइन् । समयमै रूख कटानको स्वीकृति नपाउँदा वर्षौंसम्म आयोजनामा उल्झन देखिएको उनको भनाइ छ ।
समितिले तयार पारेको प्रतिवेदनअनुसार आयोजना छनोट गर्ने स्पष्ट मापदण्ड तथा आधार तयार थिएनन् । प्रारम्भिक सम्भाव्यता अध्ययन नै नभएका वा अन्य कुनै तयारी नगरिएका आयोजना पनि गौरवका आयोजनामा राखिएको प्रतिवेदनमा उल्लेख छ । संघीय संसद्मा विचाराधीन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अविलम्ब पारित गर्नुपर्ने पनि प्रतिवेदनले बताएको छ । आयोजना कार्यान्वयनको चरणमा राजनीतिकर्मी, कर्मचारी र निर्माण व्यवसायीबीच अनुचित मिलेमतो हुने गरेका कारण आयोजनाको काममा नकारात्मक प्रभाव बढिरहेको र पारदर्शी कार्यान्वयन पद्धतिको विकास गर्नुपर्ने सुझाव पनि समितिले सरकारलाई दिएको छ ।


यी हुन् गौरवका आयोजना
   - रेलवे तथा मेट्रो विकास
   - हुलाकी राजमार्ग
   - पुष्पलाल (मध्यपहाडी) लोकमार्ग
   - उत्तर–दक्षिण (कोसी करिडोर) लोकमार्ग
   - उत्तर–दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग
   - उत्तर–दक्षिण (कर्णाली करिडोर) लोकमार्ग
   - काठमाडौं/तराई–मधेस द्रुतमार्ग
   - सिक्टा सिँचाइ
   - बबई सिँचाइ
   - रानीजमरा कुलरिया सिँचाइ
   - सुनकोसी मरिन डाइभर्सन
   - भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
   - महाकाली सिँचाइ
   - बुढीगण्डकी जलविद्युत्
   - विद्युत् प्रसारण लाइन
   - पश्चिम सेती जलविद्युत्
   - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
   - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
   - पशुपति क्षेत्र विकास कोष
   - लुम्बिनी क्षेत्र विकास कोष
   - मेलम्ची खानेपानी आयोजना
   - राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

Page 6
समाचार

लुको नेपाल साइनो

काठमाडौं (कास)– नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो पहिलो नेपाल भ्रमणको स्मरण गरेका छन् । ३० वर्षअघि पर्यटकको रूपमा नेपाल आएका लु यतिबेला कूटनीतिक सम्बन्ध विस्तार गर्न काठमाडौं उत्रेका छन् । पुरानो भ्रमण स्मरणसहित उनले नेपालको प्रशंसा गर्दै नेपालीको मन जित्ने कोसिस गरेका छन् ।
अमेरिकी दूतावासले आफ्नो ट्वीटरमा सार्वजनिक गरेको भिडियोमा सहायकमन्त्री लुले आफ्नी प्रेमिकासँग १९९३ मा भारतको दार्जिलिङ हुँदै नेपाल आएको स्मरण गरेका छन् । १ मिनेट ४१ सेकेन्डको भिडियोमा लुले त्यस समयकी प्रेमिका र अहिलेकी पत्नी एरियल एहार्टसँग नेपाल भ्रमणमा आउँदाको स्मरण गरेका छन् । ‘म पहिलो पटक सन् १९९३ मा नेपाल आएको थिएँ र आज यस क्षेत्रका लागि अमेरिकी सहायक विदेशमन्त्रीको रूपमा फेरि आएको छु,’ लुले भनेका छन्, ‘झन्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ । म ती युवतीसँग प्रेममा परें, जो आज मेरी श्रीमती छिन् ।’ अमेरिकी विदेश मन्त्रालयमा काम सुरु गरेका लुको जनस्वास्थ्यविज्ञ एहर्टसँग २६ वर्षअघि विवाह भएको थियो । उनले आफ्नो सन्तानको नाम पनि दक्षिण एसियाबाटै प्रभावित रहेको बताएका छन् ।

Page 7
समाचार

दुर्गम जान मानेनन् छात्रवृत्तिमा पढेका चिकित्सक

हजुरआमा बिरामी भएकोदेखि घर जानुपरेको सम्मका बहाना
सुगमका अस्पतालमा बस्न नेता र सांसदको ‘सोर्सफोर्स’
- प्रशान्त माली

(काठमाडौं)
सरकारी छात्रवृत्तिमा पढेका विशेषज्ञ चिकित्सक दुर्गमका स्वास्थ्य संस्थामा जान अटेर गरेका छन् । छात्रवृत्तिमा पढेका चिकित्सकले पढाइ सकिएपछि दुई वर्ष स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य संस्थामा गएर काम गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्छन् । तर, उनीहरू शक्तिको बलमा सुगममा बस्दा दुर्गमका बासिन्दाले सास्ती भोगिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले एक महिनाअघि हाडजोर्नी, आँखा र छाती विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, शल्यचिकित्सक, रेडियोलोजिस्ट, प्लाथोलोजिस्ट गरी १८ जना विशेषज्ञ चिकित्सकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, डडेलधुरा, सिन्धुली, गोरखा, सिन्धुपाल्चोक, उदयपुरलगायत जिल्ला अस्पतालमा खटाउने निर्णय गरेको थियो तर चिकित्सकहरू खटाएको अस्पतालमा गएनन् । बरु उनीहरूले राजधानी आसपासका र ठूला सहरका अस्पतालमा बस्न राजनीतिक दलका नेता र सांसदहरूको ‘सोर्सफोर्स’ लगाइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।
विशेषज्ञ चिकित्सकहरू खटाएको क्षेत्रमा जान नमान्दा दुर्गमका बासिन्दा मर्कामा परेका छन् । अहिले डडेलधुरा अस्पतालमा अल्ट्रासाउन्ड मेसिन भए पनि रेडियोलोजिस्ट अभावका कारण रिपोर्ट लिन धनगढी प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चेतराज भट्टले भने, ‘बिरामीको चापलाई मध्यनजर गरेर मन्त्रालयसँग रेडियोलोजिस्ट माग गरेका थियौं, पठाउन नसक्नु मन्त्रालयको कमजोरी हो ।’ मन्त्रालयले डडेलधुरामा रेडियोलोजिस्ट डा.शैलेन्द्र कटुवाललाई खटाउने निर्णय गरेको थियो । कटुवालले स्वास्थ्य समस्याका कारण जान नसकिरहेको दाबी गरे । ‘बीचमा मेडिकल काउन्सिलको परीक्षा पनि दिनुपर्ने थियो,’ उनले भने, ‘दुर्गममा नजाने खालको मान्छे होइन ।’ अस्पतालका अनुसार अल्ट्रासाउन्ड गराउन दिनमा ५० देखि ६० जना बिरामी आउँछन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एपेन्डिसाइटिस, पत्थरी, हर्नियालगायतको अपरेसनका लागि बिरामी बढेको भन्दै मन्त्रालयसँग जनरल सर्जन माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले सर्जन डा.सुमन दाहाललाई पठाउने निर्णय गर्‍यो तर डा.दाहाल अझै अस्पताल पुगेका छैनन् । राप्ती प्रतिष्ठानका रेक्टर डा. वसन्त लामिछानेले दाङ, सल्यान, रुकुमलगायत जिल्लाको रेफरल सेन्टर भएकाले शल्यक्रिया गराउन बिरामी चाप बढेको तर सर्जन अभावका कारण सामान्य अपरेसनसमेत प्रभावित हुने गरेको बताए । ‘अहिले भएका दुई जना सर्जनले इमर्जेन्सी, ओपीडी र भर्ना भएका बिरामी पनि उपचार गर्नुपर्ने बाध्यता छ,’ लामिछानेले भने । यसबारेमा बुझ्न डा. सुमन दाहाललाई पटक–पटक सम्पर्क गरे पनि उनी फोन सम्पर्कमा आउन चाहेनन् ।
त्यस्तै मन्त्रालयले सिन्धुली अस्पतालमा एनेस्थेसियाका डा. सजिना सिलवाल र आँखाका डाक्टर प्रवीण राईलाई पठाउने निर्णय गरेको थियो । उनीहरू पनि पुगेका छैनन् । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.उमेश प्रधानका अनुसार शल्यक्रिया गर्ने ६ जना चिकित्सक छन् । ‘तर एनेस्थेसियाका विशेषज्ञ नहुँदा अपरेसन प्रभावित बनेको छ,’ उनले भने, ‘आँखाको अपरेसन गर्न थिएटर छ तर डाक्टर नहुँदा सञ्चालनमा छैन ।’ डा.राईले आफ्नो घर धनकुटा जानुपरेकाले खटाएको ठाउँमा जान नसकेको दाबी गरे ।
मन्त्रालयले एक महिनाअघि गजेन्द्रनारायण सिंह अस्पतालका छाला रोग विशेषज्ञ डा.अर्जव पन्त, सुर्खेत प्रादेशिक अस्पतालमा छाला रोग विशेषज्ञ डा.सविना भण्डारी, सर्जन डा. प्रार्थना पछाईं, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्तरिक चिकित्सा डा. रायना श्रेष्ठ, विष्णु पौडेल, सिन्धुपाल्चोकको चौतारा अस्पतालमा जनरल सर्जन डा. एलिजा हमाल रेग्मी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेत्ररोग विशेषज्ञ डा.दीक्षा बोहरा, गोरखा अस्पतालमा हाडजोर्नीका डा.सन्देश श्रेष्ठ, उदयपुर अस्पतालमा नेत्ररोग विशेषज्ञ डा.विवेक उपाध्यायलगायतलाई खटाउने निर्णय गरेको थियो । मन्त्रालय स्रोतका अनुसार केही डाक्टरले आफूले चाहेको क्षेत्रमा जान प्रधानमन्त्री कार्यालयबाट समेत दबाब दिन लगाएका छन् । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले निजी अस्पतालमा काम गर्न मिल्ने ठाउँमा पोस्टिङ गराउन अनावश्यक दबाब दिइरहेको बताए । उनले भने, ‘फेरि पनि आग्रह अस्वीकार गरेमा कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’
गोरखा अस्पतालमा खटाइएका डा. श्रेष्ठले हजुरआमा बिरामी भएकाले जान नसकेको दाबी गरे । ‘हजुरआमा प्रेसर, सुगर, कोल्डस्टोरको बिरामी हुनुहुन्छ, बेला–बेलामा अक्सिजन दिनुपर्छ र अस्पताल लैजानुपर्छ,’ उनले भने ।
छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन समन्वय समिति अध्यक्ष मन्त्रालयका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला प्रजापतिले अझै अटेर गरेमा नेपाल मेडिकल काउन्सिलबाट दिइने सक्कल प्रमाणपत्र रोक्ने दाबी गरिन् ।
चिकित्सकहरूले सेवा अवधि पूरा गरेपछि मन्त्रालयले प्रमाणित गरेर सिफारिस गरेपछि मात्र काउन्सिलबाट सक्कल प्रमाणपत्र पाउने व्यवस्था छ । छात्रवृत्तिसम्बन्धी ऐन २०२१ (संशोधित २०७४) को दफा ५ अनुसार चिकित्सक अध्ययन पूरा गरी सम्पर्कमा नआएमा छात्रवृत्तिमा अध्ययन गर्दा लागेको खर्च र सरकार वा कुनै संस्थाले अनुदान दिएको भए सोबराबरको रकम जरिवाना तिराउने प्रावधान छ । वर्षमा करिब ३ सय ७० जना विशेषज्ञ चिकित्सक उत्पादन हुन्छन् ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले चिकित्सकहरू मन्त्रालयले तोकेको अस्पतालमा पुगेर सेवा दिनु कर्तव्य भएको बताए । ‘अटेर गर्नेलाई कारबाही गर्नुपर्छ,’ उनले भने । प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव पन्थले कार्यालय ठूलो भएकाले यसबारे थाहा नहुने बताए ।

समाचार

पोखरामा महानगरका ‘मेयर सम्मेलन’

मेयर सम्मेलनका सहभागी शुक्रबार सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर

कास्की (कास)– पोखरामा शुक्रबारदेखि मेयर सम्मेलन सुरु भएको छ । पोखरा महानगरपालिकाको निमन्त्रणामा मुलुकका ६ वटै महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र उनीहरूको टिम पोखरा आइसकेको छ । सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिइएको छ ।
सम्मेलनको कार्यतालिकाअनुसार पहिलो दिन पोखरा, काठमाडौं, विराटनगर, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौतीबारे धारणा राखेका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलले ‘संघीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुति दिनेछन् भने पूर्वाधार विज्ञ सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’ सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ ।
त्यस्तै पूर्वसचिव कृष्ण ज्ञवाली, सुदृढ परियोजनाका सरोज बस्नेतलगायतले प्रस्तुति राख्नेछन् । महानगरका उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्ने बताइएको छ । सम्मेलनको दोस्रो दिन सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची रहेको पोखरा महानगरपालिकाले जनाएको छ । सम्मेलनको पहिलो दिन शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहभागी मेयरहरूले महानगरका साझा चुनौती र कार्यान्वयनमा रहेका जटिलताबारे अनुभव आदानप्रदान गर्ने बताए । भरतपुर र ललितपुरका मेयरको दोस्रो कार्यकाल भए पनि अन्य महानगरका मेयरको कार्यकाल भने पहिलो हो ।
स्थानीय तहका नीति तथा ऐन, कानुन निर्माणमा भोग्नुपरेका समस्याको समाधानका उपायबारे छलफल हुने मेयरहरूले जनाएका छन् ।

Page 8
खेलकुद

पार्करका विश्व कीर्तिमानी दिनेश

दिनेशको नाममा सात विश्व कीर्तिमान छ, चार कीर्तिमानकै प्रक्रियामा छ भने एउटा अर्को विश्व कीर्तिमानका लागि उनी प्रयासरत छन्
- विनोद पाण्डे

(काठमाडौं)
दिनेश सुनारले आफ्नो नामको पछाडि ‘पार्कर’ राखेका छन् । पार्कर एउटा खेल हो, जसमा मार्सल आर्टस, एथलेटिक्स र जिम्न्यास्टिकको समिश्रण हुन्छ । शारीरिक रूपमा फिट हुन मात्र मान्छेले यो खेल खेल्ने गरेको देखिन्छ । यो खेल साहसिक पनि छ ।
तर, यो खेलले त्यस्तो रफ्तार लिन सकेको छैन । ओझेलमै छ पार्कर खेल । जो यस खेलमा लागेका छन्, धेरैका लागि मनोरञ्जनको हिसाबमा छ । यसले व्यावसायिक गति लिन सकेको छैन । यही खेलबाट दिनेशले ७ विश्व कीर्तिमान राखिसकेका छन्, ४ विश्व कीर्तिमान मान्यता पाउने प्रक्रियामा छ । झट्ट हेर्दा उनले नै यस खेललाई चिनाए जस्तो देखिन्छ । त्यही भएर पनि होला सर्च गरेर बुस्ट होस भनेर दिनेशले आफ्नो नामपछाडि पार्कर राखेका छन् ।

दिनेश ७–८ वर्षको उमेरदेखि उफ्रिने तथा उल्टीसुल्टी जम्प गर्ने गर्थे । चकचके स्वभावका कारण उनको परिवार काठमाडौंमा धेरै पटक डेरा सर्नुपरेको थियो । हलिउड फिल्मका ज्याकी चान, ब्रुस लीदेखि नेपालका निखिल उप्रेतीको प्रभाव उनमा निकै परेको थियो । फिल्ममा हिरोबाहेक अरूले यस्तो गर्न सक्दैनथ्यो भन्ने उनका परेको थियो । हिरोहरूले पनि कम्प्युटरबाट स्केच बनाएर गर्ने हो भनेर हल्लासमेत उनको कानमा पुगेको थियो । खोलामा, हरियो घाँस, खेतबारीमा गरेर उनी पनि हिरोहरूले जस्तै उफ्रिन सिक्न खोज्थे । फिल्ममा जुन हेरेको हो, त्यही गर्न खोज्थे । आखिर हिरोले सक्ने अरूले किन नसक्ने भन्ने उनको मनमा पर्न थाल्यो ।
खोटाङको हलेसी तुवाछुङ नगरपालिकाको राजापानीका उनी स्कुलमा राम्रै विद्यार्थी थिए । २०६४ सालमा गाउँमा सबै भेला भएको समयमा स्कुलको पुरस्कार वितरण समारोहमा स्कुलकै छतबाट उल्टी जम्प हान्दै पुरस्कार लिन पुगेपछि उनको चर्चा सुरु भयो । बुढापाका सबै चकित भए । कसैले बाँदर, कसैले हनुमान, कसैले पहलमान, कसले उड्ने मान्छे भने । त्यहींदेखि आफू भाइरल भएको लाग्छ उनलाई । त्यो हल्ला एक कान दुई कान हुँदै अर्को स्कुलमा पनि पुग्यो । त्यहाँ उडेर नै स्कुल नै नाघिदिन्छ भन्ने खबर फैलिइसकेको थियो । पालैपालो स्कुलहरूले उनलाई कार्यक्रममा ‘स्टन्ट’ गर्न बोलायो । घरमा चाहिँ कतिले ‘तेरो छोरा उड्दाउड्दै लडेर मर्छ’ भनेर बुवाआमालाई कुरा लगाइदिन भ्याएछन् ।
२०६८ सालमा सनतकुमार बस्नेत सशस्त्र प्रहरी बलका आईजीपी थिए । उनी पनि खोटाङकै हुन् । दिनेशको पारी गाउँ सापाटेलका थिए । आईजीपी भएको समयमा बस्नेतले आफ्नो गाउँमा बुवाआमाको नाममा खुला भलिबल र नृत्य प्रतियोगिता आयोजना गरेका थिए । ‘काठमाडौंबाट ठुलो मान्छे आउँदैछन् तैले त्यहाँ आफ्नो प्रदर्शन देखाइस् भने मौका पाउँछस्’ भनेर धेरैले दिनेशलाई उक्साएपछि उनी बिहान चारै बजे हातमा चप्पल लिएर जंगलको बाटो खाली खुट्टामा दौडिए । चार घन्टाको बाटो थियो । आफूलाई कार्यक्रममा आफ्नो प्रदर्शन देखाउने मौका दिनुपर्छ भन्नका लागि उनी बस्नेतलाई भेट्न दौडिएका थिए ।
तर, आईजीपी बस्नेत पूरा सुरक्षाकर्मीको घेरामा रहेर हेलिकप्टरबाट स्कुलको मैदानमा ल्यान्ड भएका थिए । यद्यपि आयोजक दिनेशको प्रदर्शन हेर्न राजी भयो । खाली खुट्टा स्कुलको छतमा चढेर दिनेशको उल्टी जम्प हान्दै ओर्लिएको प्रदर्शनबाट आईजीपी बस्नेत पनि हेरेको हेरै भए । बस्नेतले बोलाएर दिनेशका बारेमा जानकारी लिए । बक्सिसस्वरुप उनले ३ हजार पनि दिए । बस्नेतले दिनेशलाई खाली खुट्टा किन जम्प गरिरहेका छौं, यस खेलबारे ज्ञान लिएका छौं भनेर सोधे पनि । बस्नतेले उनको पढाइबारे पनि जानकारी लिए । दिनेशले आफू एसएलसी दिन लागेको बताएका थिए । एसएलसी दिएपछि आफूलाई काठमाडौं आएर भेट्न बस्नेतले भने । त्यही कुरालाई मनमा लिएर दिनेश बसे ।

एसएलसी दिएको भोलिपल्टै उनी काठमाडौं हानिए । सशक्त प्रहरी बलको हेडक्वाटर हल्चोक पुगे । आईजीपी बस्नेतले दिनेशको तारिफ गर्दै तत्कालीन सशस्त्रका खेलकुद प्रमुख प्रेमकुमार श्रेष्ठलाई जिम्मा लगाइदिए । प्रेम, फुटबलका जीवेश पाण्डे, पंकज चन्दलगायत सशस्त्रका पदाधिकारीसामु रोडमा उल्टो जिम्न्यास्टिकका साथै भित्तामा टेकेर जम्प गरेर आफ्नो प्रतिभा देखाइदिए । त्यो देखेपछि प्रेमले दिनेशलाई जिम्न्यास्टिक संघको जिम्मा लगाइदिए भने सशस्त्रमा उनलाई खेलाडीको हिसाबमा ६ महिनाको करार जागिर दिलाइदिए ।
त्यसपछि उनको यात्रा सुरु भयो दशरथ रंगशालास्थित जिम्न्यास्टिक कभर्डहलमा । जहाँ उनले पहिलोपल्ट जिम्न्यास्टिकका म्याटलगायत सामग्री देख्दा जिल्ल परे । आफूले देखाउँदै आएको कला र जिम्न्यास्टिकको प्रदर्शन उनले पूरै फरक पाए । उनी सशस्त्रको जवान बने । उनले जे प्रदर्शन गर्थे त्यो पार्कर थियो । तर उनलाई त्यो खेल पार्कर हो भन्ने थाहा थिएन । जम्प, रोल, कङ, रनिङ, स्विङ, क्लाइम्बिङ, भल्टिन पार्करमा थियो । जिम्न्यास्टिक र पार्करको सम्बन्ध नङ र मासु जस्तै हो । जिम्न्यास्टिकमा फ्लोर एक्सरसाइज, रिङ, भल्ट, हाइ बार, प्यारालल बार, पोमल हर्स गरी ६ विधामा प्रतियोगिता हुन्छन् । अहिले पार्कर पनि जिम्न्यास्टिकमै रहेको छ । भविष्यमा पार्करलाई ओलम्पिकमा राख्ने सम्भावना रहेको दिनेश जनाउँछन् ।
सन् २०१४ मा प्रथम लुम्बिनी च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितेका थिए जिम्न्यास्टिकबाट । युट्युब हेर्दै काँडाघारीबाट जोरपाटीको बालुवाखानीमा गएर उनी नियमित जम्प हान्थे । त्यही भिडियो युट्युबमा हेर्दै गर्दा वाल ब्याक समरसल्ट, लङगेस्ट ब्याक लिभमा विश्व कीर्तिमान राखेको थाहा पाए । यस्तोमा पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डस हुँदोरहेछ भन्ने थाहा पाए । जतिबेलासम्म उनलाई कीर्तिमानबारे थाहा थिएन । त्यसपछि उनलाई पनि विश्व कीर्तिमान बनाउँछु भन्ने हुटहुटी जाग्न थाल्यो, हिम्मत पलायो र मनैदेखि उर्जा मिलेको महसुस भयो ।
अनि सुरु भयो विश्व कीर्तिमानलाई उनको तयारी । तर, यो कसरी दर्ता गर्ने, को–को मान्छेलाई भेट्ने उनलाई केही थाहा थिएन । ‘सुरुमा मान्छेले यसमा विश्व कीर्तिमान बनाउँछु भन्दा पागल भन्थे, धेरैले पत्याउँदैनथे । विश्वमा यस्तो स्टन्ट हान्ने कति हुन्छन् कति भन्थे,’ दिनेश ती दिन सम्झन्छन् । त्यसको एक वर्ष विश्व कीर्तिमानको आधिकारिक मान्छे खोज्नै बितेको उनी स्मरण गर्छन् । विश्व कीर्तिमान राखेर नेपाललाई चिनाउँछु र पार्कर खेल पनि अगाडि बढाउँछु भन्ने उनीभित्र लालसा थियो । तर अभ्यास गर्ने ठाउँ थिएन । बालुवाखानी र रंगशालामा प्रशिक्षण गरेर उनले तयारी जारी थियो ।
‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ वाल इन वान मिनेट’ अर्थात एक मिनेटमा सबैभन्दा जिउको पछाडिको भाग ३६० डिग्रीमा घुमाउनुपर्ने कीर्तिमानका लागि गिनिज बुकले उनलाई समय दियो । १ मिनेटमा १५ पटक घुमाएको विश्व कीर्तिमान थियो, तोड्नलाई उनले १६ पटक जिउ घुमाउनुपर्ने भयो । सन् २०१६ मा विश्व कीर्तिमानका लागि तयारी गर्दा देव्रे खुट्टा भाँचियो । तीन महिना त उनी प्लास्टर लगाएर अस्पताल नै बसे । एक वर्षसम्म दौडिने हुँदैन, आराम गर्नुपर्छ भनेर डाक्टरले भनिदिए । उनलाई चिन्ता सताउन लाग्यो । ब्रुस लीको आत्मकहानी अस्पतालको बेडमा पढ्दा उनलाई उर्जा मिल्थ्यो । ज्यान अस्पतालमा भए पनि ध्यान जोरपाटीको बालुवाखानी र रंगशालामा पुग्थ्यो । प्लास्टर खोलेको दिन डाक्टरले ३–४ महिना थप केही नगर्नु भनेको उनी उल्टै त्यही दिन रंगशाला पुगेर खेल्नै पो बिर्सिन्छ कि भनेर एक खुट्टाले अभ्यास गर्न पुगे । पुरानै स्थितिमा पुग्न ८–९ महिना लाग्यो । उनले हार खाएनन् ।



सन् २०१७ को जुन १ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डसका लागि सशस्त्र प्रहरी मुख्यालयमा धेरैलाई साक्षी राखेर प्रयास गरे । एक मिनेटमा १८ पटक जिउ घुमाएर गरेको प्रयासलाई अक्टोबरमा गिनिज बुक अफ द वर्ल्डले विश्व कीर्तिमान भएको प्रमाणित गरिदियो । उनलाई त्यो दिन विश्वकप जितेजस्तो अनुभव भयो । उनले त्यो दिन आफूले गरेका कठिनाइ, भोगाइ र दुःखद क्षण घरीघरी सम्झिए ।
बास्केटबल फ्री स्टाइलरमा विश्व कीर्तिमान बनाएका थानेश्वर गुरागार्इंले उनलाई त्यो विश्व कीर्तिमानमा पुग्न सघाएका थिए । थानेश्वरको नाममा २३ विश्व कीर्तिमान छन् । उनलाई बढी सघाउने बहिनी अस्मिता जुरेली हुन्, जो रेस्लिङ खेलाडी हुन् । बुवा कतारमा रोजगारी गर्छन् ।
‘तेरो जिन्दगी विश्व कीर्तिमान बनाउँदै जाने भो’ भनेर घरमा पनि बेलाबेला चर्चा हुने गरेको उनी सुनाउँछन् । आफ्नो दुःख र समर्पणको पनि चर्चा हुनुपर्ने दिनेश सुनाउँछन् । जिम्न्यास्टिक जननी खेल हो । तर नेपालमा दयनीय अवस्थामा देख्छन् उनी । प्रतियोगिता कम छ, खेलाडी लोप हुँदै गएका छन् । तर उनी स्वयंले देश छाडिसकेका छन् । गत वर्षदेखि उनी अमेरिकामा छन् ।
पार्करमा यसअघि विकसित मुलुकमा खेल्दै आएकामा नेपाल जस्तो अल्पविकसित मुलुक आएकोमा उनलाई सबैभन्दा सन्तुष्टि दिएको छ । विश्व कीर्तिमानसँगै उनी विभिन्न देशको समाचारमा छाए । विश्व पार्कर संघले त्यो देखेर उनलाई सन् २०१८ मा अमेरिकामा विश्वकप खेल्ने निमन्त्रणा दियो । त्यसअघि कुनै नेपालीले पार्करको विश्वकप खेलेका थिएनन् । अमेरिकाको फ्लोरिडामा भएको विश्वकपमा तीन वटाको फाइनल राउन्डमा पुग्दै उनी शीर्ष १० मा पर्न सफल भए । त्यही समयमा उनले पार्कर इन्स्ट्रक्टरको प्रशिक्षण पनि लिए । जसले उनी नेपालको पहिलो पार्कर इन्स्ट्रक्टर बने ।

नेपाल फर्किएर फेरि उनले विश्व कीर्तिमान बनाए । यस पटक उनले ‘द मोस्ट ब्याकवार्ड समरसल्ट एगेन्सट द वाल इन थर्टी सेकेन्ड’ मा विश्व कीर्तिमान बनाएका थिए । यसमा भित्तामा खुट्टाले टेको लगाएर उल्टो घुम्नुपर्ने थियो । उनले ३० सेकेन्डमा १६ पटक घुमिदिए । पुरानो विश्व कीर्तिमानभन्दा एक पटक बढी उल्टो घुमे । उनले यसै गरी सात विश्व कीर्तिमान बनाइसकेका छन् । ४ वटा प्रयास गरेर गिनिज बुकलाई पठाइसकेका छन् ।
नेपाल–अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष पुगेको अवसरमा अर्को महिना १२ औं विश्व कीर्तिमानका लागि प्रयास गर्ने योजनामा छन् उनी । ‘द मोस्ट बटरफ्लाई किक्स फुल ट्विस्ट इन वान मिनेट’ मा उनले अर्को विश्व कीर्तिमानी प्रयास गर्न लागेका हुन् । यसमा ३६० डिग्रीमा शरीर घुमाउनुपर्छ । कीर्तिमानका लागि उनले एक मिनेटमा १५ पटकभन्दा बढी गर्नुपर्ने हुन्छ ।
पछिल्लो दुई दशक उनी यो क्षेत्रमा छन् । अहिले उनी ओहायोको एक्रोनमा बस्छन् । उनी गत वर्ष त्यहाँ गएका थिए । अमेरिकामा गएर उनले चार विश्व कीर्तिमान बनाइसकेका छन् भने ४ वटामा विश्व कीर्तिमानको मान्यता आउन बाँकी छ । एक्रोन सिटीका मेयर डान हेरिगनले उनलाई विश्व कीर्तिमानका लागि सम्मान गरिसकेका छन् । अप्रिल २१ का दिनलाई एक्रोनवासीका तर्फबाट मेयरले सम्मानका क्रममा ‘दिनेश सुनुवार दिन’ घोषणा गरिदिएका थिए । एक्रोन जनरलमा यो समाचार छापिएको थियो ।
‘यदि ठूलो पुरस्कारद्वारा पुरस्कृत हुन चाहन्छौं भने सबैभन्दा कठोर कर्म रोज,’ ३० वर्षे दिनेशले रोजेको यात्रा कठिन मात्र होइन धेरैका लागि असम्भव जस्तै थियो । अहिले उनकी केही हदसम्म आफू सफल भएको ठान्छन् । उनी आफ्नो कहानी नेटफिलिक्समा फिल्म बनेर आओस् भन्ने चाहन्छन् । जबकि उनको यात्रा आफैंमा वास्तविक फिल्म हो ।


दिनेशका सात विश्व कीर्तिमान
१.    नेपालमा २०१७ जुन १७
    द मोस्ट ट्विस्टिङ ब्याकफ्लिप अफ वाल इन वान मिनेट (एक मिनेटमा १७ पटक घुमाउरो ब्याक फ्लिप गर्ने)
२.    नेपालमा २०१८ जनवरी १४
    द मोस्ट ब्याकवार्ड समरसल्ट एगेन्सट द वाल इन थर्टी सेकेन्ड्स (३० सेकेन्डमा १६ पटक सम्म ब्याकवार्ड समरसल्ट हानेको)
३.    नेपालमा २०१९ मार्च ११
    द मोस्ट ट्विस्टिङ ब्याकफ्लिप अफ द वाल इन थर्टी सेकेन्ड (३० सेकेन्डमा १२ पटक घुमाउरो ब्याक फ्लिप गरेको)
४.    अमेरिका भर्जिनियामा २०२२ जनवरी ५
    द मोस्ट ब्याकवार्ड समरसल्ट ट्राम्पोलिन इन वान हाउर (एक घन्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट ट्रयाम्पोलिन हानेको)
५.    अमेरिका ओहिओस्थित एक्रोनमा २०२१ मार्च ७
    द मोस्ट स्ट्यान्डिङ फुल ट्विस्ट ब्याकफ्लिप इन थर्टी सेकेन्ड (३० सेकेन्डमा १२ पटक स्ट्यान्डिङ फुल ट्विस्ट ब्याकफ्लिप हानेको)
६.    अमेरिका ओहिओस्थित एक्रोनमा २०२२ मे २४
    द मोस्ट ब्याकवार्ड समरसल्ट ह्वाइल स्किपिङ इन थर्टी सेकेन्ड (३० सेकेन्डमा १४ पटक स्किपिङ गर्दै ब्याकवार्ड समरसल्ट हानेको)
७.    अमेरिका ओहिओस्थित एक्रोनमा २०२२ जुन १०
    द मोस्ट स्ट्यान्डिङ फुल ट्विस्ट ब्याकफ्लिप इन थर्टी सेकेन्ड (३० सेकेन्डमा १३ पटक स्ट्यान्डिङ फुल ट्विस्ट ब्याकफ्लिप हानेको)

खेलकुद

धनलक्ष्मी स्मृति स्क्वास हुने

चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासबारे जानकारी गराउादै आयोजक पदाधिकारी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

काठमाडौं (कास)– चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अर्को साता हुने भएको छ । सोमबार सुरु हुने प्रतियोगिता साउन २१ सम्म चल्नेछ । प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनको आयोजनामा हुन लागेको हो । प्रतियोगितालाई लिएर शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कुल ५ स्पर्धामा प्रतिस्पर्धा हुने बताइएको थियो ।
त्यसमा पुरुष खुला, महिला खुला, मास्टर्स खुला (५० वर्षमाथि), जुनियर ब्वाइज र प्लेट स्पर्धा रहेका छन् । नेपाल स्क्वास र्‍याकेट संघका अध्यक्ष किशोर महर्जनले प्रतियोगिताको प्रायोजन गरेका छन् । प्रतियोगिताका लागि फाउन्डेसनले १ लाख ३५ हजार रुपैयाँ नगद पुरस्कार लागि प्रदान गर्नेछ । संघका अनुसार जुनियरतर्फ उत्कृष्ट हुने खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था गरिनेछ । प्रतियोगितामा सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ । पुरुषतर्फ विजेताले २५ हजार पाउनेछन् भने महिलातर्फ पहिलो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको पछिल्लो संस्करणमा पुरुषमा अरहान्तकेशर सिंह र महिलामा भावना सुनुवार च्याम्पियन भएका थिए ।

खेलकुद

सबैको नजर हल्यान्ड र नुनेजमा

लन्डन (एएफपी)– म्यानचेस्टर सिटी र लिभरपुलबीच शनिबार कम्युनिटी सिल्ड उपाधिका लागि खेल हुनेछ । यसमा सबैको नजर हालै मात्र अनुबन्ध दुई खेलाडी इर्लिङ हल्यान्ड र डारविन नुनेजप्रति हुनेछ ।
इंग्लिस प्रिमियर लिगको नयाँ सिजनअगाडि आयोजना हुने खेलमा सिटीका हल्यान्ड र लिभरपुलका नुनेजले आफूमाथि क्लबले खर्चेको मूल्य प्रमाणित गर्ने चुनौती हुनेछ ।
दुवैले करोडौं डलरभन्दा बढीको मूल्य बोकेका छन् । उनीहरूको आगमनले सिटी र लिभरपुलबीचको प्रतिस्पर्धा फेरि नवीकरण हुनेछ । गत सिजन पेप ग्वार्डिओलाको सिटीले लिग उपाधिको होडमा लिभरपुललाई एक अंकले पछाडि छाडेको थियो । त्यसयता दुवै टिम धेरै परिवर्तनबाट गुज्रिइसकेका छन् ।
सिटी पछिल्ला ५ सिजनमध्ये चारमा लिग विजेता रहेको छ । टिमले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । तर ग्वार्डिओवा प्रत्येक सिजन नयाँ चुनौती सामना गर्न चाहन्छन् । उनले ग्याब्रियल जिससलाई आर्सनल र रहिम स्टर्लिङलाई चेल्सी बिक्री गरेका छन् । गत सिजन अग्रपंक्तिमा गोल गर्ने खेलाडीको अभावका कारण त्यसलाई पूर्ति गर्न यसपल्ट हल्यान्डलाई अनुबन्ध गरिएको छ ।
योर्गन क्लोपको लिभरपुलले फेरि एकपल्ट लिग उपाधिका लागि बलियो दाबेदार रहनेछ । लिभरपुलले नै सिटीलाई लिग उपाधि रक्षा गर्नबाट रोक्न सबैभन्दा बढी मिहिनेत गर्नेछ । लिभरपुलले यसै सिजन आफ्ना प्रमुख खेलाडी मोहम्मद सलाहसँगको अनुबन्धलाई लम्ब्याएको छ । साडियो मानेलाई बायर्न म्युनिकसँग गुमाएपछि लिभरपुलले नुनेजलाई बेन्फिकाबाट भित्र्याएको हो ।

खेलकुद

अन्जना र अग्रिमा विजयी

काठमाडौं (कास)– बेलटार एकेडेमीकी अन्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी विष्णा विष्ट प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनल पुगेका छन् ।
शीर्ष २० वरीयताबाहेकका यस इभेन्टमा अन्जनाले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ ले, अग्रिमाले सेनाकी प्रियांशी बमलाई २१–१६, १५–२१, २१–१९ ले, निकिता लामाले फिदर १६ की रिहाना शेरचनलाई २१–११, २२–२० ले र विष्णाले बेलटारकी रोजी राईलाई २०–२२, २१–१२, २१–१२ ले हराएका थिए ।
यू–१७ ब्वाइजतर्फ सिल्क ग्रुपका कविर केसीले बेलटार एकेडेमीका सुसन पौडेललार्ई २१–१३, २१–९ ले र आयोजक स्पोर्ट्स हवका सुनील कार्कीले फिदरका अभय महरालाई २१–१७, २३–२१ को सोझो सेटमा हराए । लाफा समूहका मनोज फौदारले रिसभ राईलाई २१–१७, २१–१५ ले र आर्मीका डेविड थापा मगरले बेलटारका केनिश मगरलाई २१–५, २१–१३ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।
शीर्ष २० वरीयताबाहेक खुला पुरुष युगलतर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समूह बुटवलका मनोज फौदार र विवेक न्यौपानको जोडीलाई २१–१९, २१–१७ ले तथा नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१–१९, २०–२२, २१–१८ ले हराएर । सूर्यदर्शनका जुम्ल्याहा ठकुरी दाजुभाइ राम र लक्ष्मण मल्लको जोडीले पुलिसका हीरा राई र सूर्यदर्शनका दीपक रानालाई २१–१९, २१–१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडीलाई २१–८, २१–१५ ले पराजित गरे ।
पुरुष ४५ वर्षमाथि जेस्टका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस जोडीले टोखाका कान्छानारायण महर्जन र मानकाजी श्रेष्ठको जोडीलाई २१–१७, २१–१५ ले पराजित हरायो ।

Page 9
कोसेली

हामी यस्ता किन छौं ?

- विष्णु सापकोटा

आजको विषयवस्तुमा पस्नुअघि एउटा आफ्नै कथा भन्नु जरुरी छ ।
स्याङ्जाको सबैभन्दा पुरानो भनेर चिनिएको म पढ्ने मातृभूमि स्कुलमा त्यो दिन मध्यान्तर सकिँदै थियो । माध्यमिक तहका विद्यार्थीबीच सानातिना हात हालाहालका घटना त कहिलेकाहीं भई नै रहेका हुन्थे । तर, त्यस दिनको घटना विशेष थियो ।
सिद्धार्थ राजमार्गतिर घर भएका हामीहरूका लागि स्कुल हाम्रोतर्फबाट आँधीखोलाको पारि थियो । अर्थात् आँधीपारि । हामी नौ कक्षामा हुँदा आँधीपारितिरको सबैभन्दा दादा बले अर्थात् बलबहादुर थियो । आँधीवारितिरको दादा तेजे अर्थात् तेजबहादुर थियो । खै के अलिखित समझदारी हुँदो हो यी दुईका बीच कुन्नि ? यिनीहरू त्यस दिनसम्म एकअर्कासँग कहिल्यै भिडेका थिएनन् । तागतमा पछाडि भएका हामी निर्धा ‘फुच्चे’ हरूका के मनोविज्ञान हुँदो हो खै ? बले र तेजे ‘सिंगल’ लडे भने कसले जित्दो हो भनेर हामी जहिल्यै उत्सुक हुन्थ्यौं ।
‘हाफ टाइम’ सकिनैलाग्दा जब हामीहरू खाजा खाएर प्रांगणतिर आउँदै थियौं, वरिपरिका कुनाहरूबाट स्कुलका लगभग सबै विद्यार्थी स्तब्ध भएर बीच चौरको दृश्य हेरिरहेका थिए । बले र तेजेले एकअर्कालाई सके जति हानिरहेका थिए । पहिलोपटक स्कुलका आँधीवारि र पारि दुईतिरका यी दुई जना दादाहरूको ‘सिंगल–सिंगल’ परिरहेको थियो । उनीहरू नलडुन्जेल ‘यिनीहरू लडे भने हेर्न मजा हुन्थ्यो’ भन्ने अवचेतनको कामना एउटा कुरा थियो, तर उनीहरू वास्तवमै लडिरहेको हेर्नु एकदम डरलाग्दो भएको थियो । अझ यसकारण पनि कि अरू केटाहरू लडे भने बले वा तेजे जो नजिक आउँछ, उनीहरूमध्ये एउटाले छुट्याइदिन सक्थे । यहाँ त नजिक गएर उनीहरूको लडाइँ छुट्याउन सक्ने कोही थिएन । स्कुलका सरहरू (त्यतिबेला म्याडम कोही हुनुहुन्नथ्यो) खाजा खाएर फर्किसक्नुभएका थिएनन् । केही दूरी राखेर हामीहरू केवल हेरिरहेका थियौं । लडाइँको अन्त्य कसरी हुने हो ! त्रास झन् बढिरहेको थियो ।
 उनीहरू लड्दालड्दै इतिहास, भूगोल र नेपाली विषयका सरहरू कताकताबाट आउँदै, सायद देखे नदेखेजस्तो गर्दै आफ्नो कार्यालयतिर जानुभयो । लडाइँ घरी बलेले जित्छजस्तो हुन्थ्यो, घरी तेजेले । तर, रोकिने छाँट थिएन । त्यही उत्कर्षबीच बलेले आफ्नो उचालेको हात केही लुलो पार्‍यो । तेजेले पनि अचानक आफ्नो आक्रमणको तेज घटायो । किनकि रमिते विद्यार्थीमध्ये कसैले भीडबाट अनायास उच्चारण गरेको थियो– बालचन सर ! बले र तेजे दुवैका आँखा पर दुईतले भवनको माथिको हेडसरको कोठाबाट बाहिर निस्कँदै गरेका बालचन्द्र थापामाथि परे । बालचन सर (हामी त्यसरी नै भन्थ्यौं) तलतिर झर्दै गर्दा हामी सबैले राहत अनुभव गर्‍यौं । बले र तेजे केही हुँदै नभएजस्तो पार्दै आफ्ना नियमितका संगतिसँग मिसिँदै तितरबितर भए ।
मान्छेको जीवनमा औसतमा एक दिनमै कति घटना भएका हुन्छन् । कतिमा रमिते भइएको हुन्छ । ती कति नै सम्झिएको हुन्छ र ! तर, बले र तेजेको त्यो ऐतिहासिक लडाइँ जसरी बिनाकुनै आवाज आफैं रोकिएको थियो, त्यो घटना मैले वर्षौंसम्म सम्झी नै राखेको थिएँ– सधैं विस्मित हुँदै । त्यसको सात वर्षपछि कीर्तिपुरमा पढ्दै गर्दा एक दिन मलाई थाहा भयो, बले र तेजेको लडाइँ कति बेला रोकिन्छ भनेर त त्यसको चार सय वर्षपहिले नै तय भएको रहेछ– जतिबेला अंग्रेजले आफ्नो साम्राज्य फैलाउन जताततै उपनिवेशहरू खडा गर्दै हिँड्न थालेका थिए । त्यतिबेला मलाई के थाहा सन् १८३५ मै बेलायती साम्राज्यले भारतमा अंग्रेजी शिक्षा ऐनमार्फत भारतीयहरूलाई आफ्नो भाषा र साहित्य पढाउन थालेको रहेछ । अंग्रेजी पढाउन मात्रै नेपालमा ऐन बनेको त सुनेको छैन, तर मैले जान्दादेखि नै बले र तेजेभन्दा मात्र होइन, ऐनभन्दा बलियो थियो– अंग्रेजी ।
बालचन्द्र सर अंग्रेजी पढाउनुहुन्थ्यो । ‘इङ्लिस सर’ वरिपरि आएपछि स्थानीय विद्यार्थीका लडाइँहरू बिनाआवाज रोकिन्थे । नेपाली र इतिहासका सरहरू सक्नुहुन्नथ्यो । अरू गणित, विज्ञानका सरहरूले जस्तो ‘इङ्लिस सर’ ले कसैलाई चड्कन लगाउनु पनि पर्दैनथ्यो । उहाँका लागि बेलायतीले त्यो काम दुई सय वर्षपहिले बन्दुक चलाएरै स्थापित गरिदिइसकेका थिए । मातृभूमि स्कुलमा मात्रै होइन, अंग्रेजी पढाउने सर कमजोर भएको मैले जिल्लाका अरू स्कुलमा पनि थाहा पाइनँ ।
नेपालमा त खासै कसैले कहिल्यै सोधेनन्, तर पछि पढ्न जाँदा होस् वा कामका सिलसिलामा बेलायत र अमेरिकातिरकै धेरै ‘अंग्रेज’ साथीभाइले उत्सुक भएर सोधे– ‘तैंलै नेपालमा अंग्रेजी साहित्य किन पढेको होस् ?’ त्यसपछि मलाई वास्तविक राजनीतिक उत्तरको जरुरी भएको थियो । त्यो उत्तर खोज्न थालेपछि मैले मेरो प्यारो बालचन्द्र सरलाई धेरै सम्झन थालेको हुँ ।
स्कुल सकेपछि पनि म बले र तेजेजस्तो बलियो हुने सम्भावना कहिल्यै थिएन । मेरो बलियो हुने एक मात्र उपाय थियो– अंग्रेजी । म अंग्रेजी साहित्य पढ्न आएको ऐतिहासिक कारण यही थियो होला, जुन सयौं वर्षपहिले विश्व इतिहासले तय गरिदिएको थियो ।
तर, इतिहास त्यतिमै कहाँ रोकिन्थ्यो र ! जब साहित्य पढ्नै थालियो– त्यसमा डुब्ने काम धेरै भयो, उत्रिने कम । कहिल्यै मान्छेका भावनाका पत्रहरूभन्दा ठूलो सत्य अरू केही नलाग्नेजस्तो भयो । आस्था भनेकै शब्दका शक्तिमाथि हुन थाल्यो र तिनका जादुसँग प्रेम । जीवनको सौन्दर्यानुभूति कलामार्फत हुने लत लाग्यो । विम्बमा भन्दा जीवन कविताजस्तो लाग्न थाल्यो, कविता जीवनजस्तो । कविताको ठाउँमा उपन्यास भने पनि भयो, चित्रकला भने पनि । बाहिर नभने पनि, नलेखे पनि, मनमा आउने भावनालाई गम्भीरतापूर्वक लिन थालियो । तर, यो सबै गत वर्षसम्मको कुरा थियो, जतिबेलासम्म मैले यो पुस्तक पढेको थिइनँ, जसबारे कुरा सुरु गर्नै इतिहासको यत्रो विचरण गर्नुपरेको छ ।
साहित्य भने पनि आखिर यो दर्शनतिर मिसिइहाल्छ, जसरी दर्शन साहित्यमा अभिव्यक्त हुन्छ । त्यसमाथि आफ्नै मनोवृत्तिका कारण पनि हुन सक्छ, हामी मान्छेले जे सोच्छौं, त्यस्तो किन सोच्छौं भन्ने विधामा मेरो पहिल्यैदेखि रुचि थियो । केही वर्षपहिले पढेको नोबेल पुरस्कार विजेता ड्यानिएल कान्हेम्यानको ‘थिंकिङ, फास्ट एन्ड स्लो’ मेरो मन पर्नेमध्येको पुस्तक भएको थियो । त्यसैले यो भन्नु त अत्युक्ति नै हुन सक्छ कि एउटा पुस्तकले वर्षौंदेखिको मेरो चिन्तनको भँगालो नै बदलिदियो । तर, ढुक्कसँग केचाहिँ भन्न मन लागेको छ भने यो पुस्तक पढेपछि मनमा आउने विचार, भावना, आवेग, संवेग र आफ्नै कुनै घटनाप्रतिका प्रतिक्रियालाई पहिलेभन्दा बढी अवलोकन र परीक्षण अवश्य गर्ने गरेको छु । मैले जे सोचेँ, त्यस्तो किन सोचेँ ? मैले जे गरेँ, त्यस्तो किन गरें ? हामीले जे पनि गर्छौं, यो सबै गर्ने–गराउने वा नगर्ने–नगराउने आखिर हाम्रो दिमागले नै हो । त्यसले काम कसरी गर्छ त ? अथवा त्यसले जसरी काम गर्छ, त्यसरी किन गर्छ ? स्ट्यान्फोर्ड विश्वविद्यालयका प्राध्यापक रोबर्ट स्यापोल्स्कीको किताब ‘बिहेभ’ ले शताब्दियौंदेखि मान्छेले खोजिरहेका यस्ता जटिलतम प्रश्नको वैज्ञानिक ‘उत्तर’ दिएको छ । यी यस्ता आदिम प्रश्न हुन्, जसको अन्तिम उत्तर सायद कहिल्यै पाइनेछैन । तर, उनको किताबलाई सम्बन्धित विधाका धेरै विद्वान्ले हाम्रो दैनन्दिनको मानव आचरण कसरी तय हुन्छ र समग्र व्यक्तित्वले कसरी आकार ग्रहण गर्छ भनि बुझाउने अहिलेसम्मकै सबैभन्दा उत्कृष्टमध्येको किताब भनेका छन् ।
‘बिहेभ’ को सबैभन्दा सुन्दर पक्ष के छ भने यसले अहिलेसम्म बृहत्, जटिल र रोचक विषयमा गरिएका इतिहासदेखि वर्तमानसम्मका खोज–अनुसन्धान–पुस्तकमध्ये मुख्यमुख्य जो छन्, तिनीहरूको निचोड पनि सँगसँगै पस्केको छ, सम्बन्धित अध्यायमा । लेखक आफैं स्विर्काछन्–यो पुस्तक पढ्न जटिल छ । स्नायुविज्ञानदेखि मनोविज्ञानसम्मका तथ्यहरू, अहिलेसम्मका सम्बन्धित वैज्ञानिक खोजका सन्दर्भ सामग्रीहरू र तिनमा टेकेर गरेका विमर्शहरू पढ्दापढ्दै ‘ओभरह्वेल्मिङ’ नै लाग्छ । त्यसमाथि अनगिन्ती प्रयोग हुन पुगेका जीवविज्ञान र अन्य विज्ञानका प्राविधिक शब्दावलीले पठनलाई बेलाबेला दुरूह नै बनाउँछन् । तर, पढ्दै जाँदा मैले गरेको अनुभव के हो भने यस्तो ‘ब्रेन’ जस्तो दुर्ज्ञेय विषयमा, जसबारे छिचोल्न–पर्गेल्न मानव जातिलाई अझै कति समय लाग्ने हो थाहै छैन– यति गहन कुरा लेख्न योभन्दा सजिलो भाषामा सम्भव नै थिएन कि ?
जहाँजहाँ बुझ्न–बुझाउन अति गाह्रोजस्तो लाग्छ, त्यहाँत्यहाँ लेखक स्यापोल्स्की स्वयम् भनिहाल्छन्, ‘यो अलिक साधारण पाठकलाई अभेद्य लाग्न सक्छ, तर केही छैन । एकछिन पर्ख, नआत्तिऊ । म तिमीले बुझ्ने हिसाबमा केही दृष्टान्त दिइहाल्छु नि एकैछिनमा ।’ अनि जब उनी उदाहरण दिन्छन्– गैर–प्राविधिक शब्दमा, तबचाहिँ बुझेबुझेजस्तो लाग्छ । तर, मलाई यसमा के पनि लाग्छ भने संसारका कुनै पनि विधाका ‘मास्टरपिस’ हामी सबैले सम्पूर्णतामा कहिले नै पो बुझेका छौं होला र ? लिओनार्दो दा भिन्चीकी मोनालिसालाई हामीले पूरै बुझेका छौं र ? जोन किट्सकै कविताप्रतिका हाम्रा बुझाइ पनि त ‘कामचलाउ’ नै हुन् । त्यसैले ‘बिहेभ’ मैले जति बुझें, त्यसबाट के बुझेँ भने मेरो आफ्नै ‘बिहेबिअर’ म आफैंले सबै कहिल्यै पनि बुझ्न सक्नेछैन । त्यो बोधपछि यो लेख लेख्न बसेको हुँ ।
किताबको एउटा प्रमुख ‘निष्कर्ष’ छ– हामी मानिस निरन्तर रूपमा झट्ट सुन्दा असान्दर्भिक लाग्ने अवचेतनका यस्ता स–साना ‘स्टिमुलस’ वा उत्प्रेरकहरूबाट प्रभावित हुँदै आफ्ना व्यवहार र निर्णय गरिरहेका हुन्छौं कि ती स्टिमुलसहरूबारे हामी आफैंलाई केही थाहै हुँदैन । अर्थात् हामी कुनै सन्दर्भमा किन एक वा अर्कोखाले आचरण गर्छौं वा सोच्छौं भन्नुका पछाडि अवचेतनको जुन पृष्ठभूमिले काम गरेको हुन्छ, त्यो हामी आफैंलाई थाहै हुँदैन । एउटा उदाहारण लिऊँ । हामीले गर्ने कुनै पनि बिहेबिअर (कुनै सोच, कुनै घटनाप्रतिको हाम्रो प्रतिक्रिया, वा कुनै घटनामा खुसी–बेखुसी हुने कुरा) किन त्यस्तो भयो भन्ने विषय त्यो बिहेबिअर गर्नुको ठीक एक सेकेन्डअघि आफूभित्र के भइरहेको थियो भन्नेले प्रभावित पार्छ । त्यो एक सेकेन्डलाई त्यसअघिका केही मिनटमा के भएको थियो भन्नेले । र, ती केही मिनटलाई लाखौं वर्षदेखि हाम्रो मानव मस्तिष्क कसरी विकसित हुँदै आएको छ भन्ने विषयले । हामीले गर्ने हाम्रा प्रत्येक व्यवहारमा यी तीनवटै तहको समष्टि हुने गर्छ । (केही जटिल लाग्यो है ? एकैछिन पख्नोस् । चुरो कुरो नै यही हो) ।
कुनै एक सुन्दर व्यक्ति देख्दा मन त्यसै आह्लादित किन हुन्छ होला ? त्यसमा मानवको सौन्दर्यबोध गर्ने इभोलुसन प्रक्रियाको लाखौं वर्षको इतिहास छ । तर, त्यो सुन्दर व्यक्ति देख्नुभन्दा केही मिनटअघि तपाईंलाई के भएको थियो नि ? तपाईं कुनै समाजवादी सोचमा त हुनुहुन्थेन ? त्यसो भए तपाईंलाई लाग्न सक्छ– ‘संसारमा यतिका धेरै मान्छे एक छाक खानका लागि देह बेच्न विवश हुनुपरेको छ । यस्तो असमान संसारमा त्यस्ता रूपका सौन्दर्यको के अर्थ ? सौन्दर्य भनेको त सामाजिक न्यायका लागि गरिने संघर्षमा छ ।’ अनि भर्खर एक सेकेन्डअघि तपाईंको दिमागमा कुनै ‘आफ्नी’ हुन नसकेकी सुन्दर प्रेमिकाको सम्झना आएको थियो कि ? वा कार्यालयका सहकर्मीसँग हिजो भएको कुनै नमीठो कुराकानीको ? यसरी एउटा कुनै अपरिचित सुन्दर व्यक्ति देख्दा आफूले कसरी प्रतिक्रिया गरिन्छ भन्नेमा ब्रेनका यी तीनै भागले काम गरेका हुन्छन् र त्यसको आधारमा हाम्रो आचरण तय भएका हुन्छन् ।
तर, महत्त्वपूर्ण तथ्य के रहेछ भने हाम्रो व्यवहारलाई सहजीकरण गर्दै आकार दिने ब्रेनका यी विभिन्न भागले हो, तर व्यवहारको स्रोत भने ब्रेन स्वयम् होइन । जस्तो कुनै सुगन्ध वा नराम्रो गन्धको स्रोत बाहिर हुन्छ । त्यसलाई प्रोसेस गर्ने पो ब्रेनले हो । तर, हाम्रो दिमागमा दर्ता भएका वर्षौंदेखिका गन्धहरूसँगका स्मृतिका अन्तरसम्बन्धले अहिले नाकमा परेको कुनै गन्धप्रति हाम्रो प्रतिक्रिया प्रभावित हुँदो रहेछ । इभोलुसनको प्रक्रियामा हामीमा पुस्तौंदेखि सर्दै आएको स्मृति त हुने नै भयो ।
एउटा थप रोचक तथ्य के भने बाहिरी ब्रह्माण्ड त यति अपराम्पार छ कि यसलाई अहिलेसम्म मान्छेको दिमागले यसको अति सानो अंश मात्र बुझ्न सकेको छ । त्यही ब्रह्माण्ड बुझ्ने हाम्रो आफ्नो निजी भनिएको ब्रेनभित्रको ब्रह्माण्ड फेरि बाहिरी ब्रह्माण्डजस्तै अबोधगम्य छ ।
त्यसैले किताब पढ्दा मेरो मनमा बारम्बार एउटा प्रश्न आएको थियो ः यदि म आफैं एक अंश पनि बुझ्न सक्दिनँ, यसले कसरी काम गर्छ भनेर भने, यो मेरो ‘आफ्नै’ दिमागलाई आफ्नो भन्ने कि अरू कसैको ? मेरो भए त मैले यसलाई बुझ्न सक्नुपर्ने हो नि, होइन ? र, मैले आफैंले आफैंलाई दिएको उत्तर हो– अरू कसैको त किन भन्नु, तर यो मेरो ब्रेन पनि ब्रह्माण्डकै अंश हो र यसले कसरी काम गर्छ भन्ने पूरै मैले सायद कहिल्यै थाहा पाउने छैन । यो बनेको नै यसरी छ कि मैले आफूलाई जो ‘म’ भन्छु, त्यसले यो पूरै बुझ्न गाह्रो छ । अथवा मान्छेको जातले अहिलेसम्म यो उपकरणलाई बुझ्न सकेको छैन । यसलाई बुझ्न प्रयोग गर्ने फेरि यो स्वयम्लाई नै हो । स्यापोल्स्की पनि किताबमा भन्छन्– ‘नोथिङ कम्स फ्रम नोथिङ । नो ब्रेन इज यान आइल्यान्ड ।’ अर्थात्, मेरो ब्रेन मसँग आउँदा लाखौं वर्षका मानव सेल, हर्मोन र अरू के–के जाति सँगै लिएर आएको छ । यो कुनै छुट्टै टापु होइन, यो संसारका सबै विषयसँग जोडिएको छ । यसरी हेर्दा लाग्छ, मभित्रको जुन चेतना छ (जसलाई मोडरेट गरेर यो लेख लेख्दै छु), त्यो मेरो ब्रेनको एउटा कुनै सानो अंश हो । यो चेतना भन्ने चीज यति सानो होला कि यसले ब्रेनभित्र के कुरा कसरी काम गर्छन्, त्यहाँभित्र केके छन्, यसका अल्गोरिदमले कसरी काम गर्छन् भन्ने धेरै थाहा पाउनै सक्दैन । र, थाहा पाउनु सायद जरुरी पनि नभएको भएर हो कि ? थाहा पाउनु जरुरी हुन्थ्यो भने प्रकृतिले मलाई त्यसरी नै डिजाइन गरेको हुन्थ्यो कि– थाहा पाउन सक्ने गरी ? करोडौं वर्षको इभोलुसन–इतिहासमा यसरी यी विषय लेख्न–बोल्न मिल्ने यो भाषा बनेकै आखिर एक लाख वर्ष पनि त भएको छैन ।
हुन त दिमागको मात्रै के कुरा, जीवविज्ञानले अहिलेसम्म मान्छेको आफ्नै शरीरबारे पनि कति नै जानेको छ र ? त्यसैले गत वर्ष औषधि विज्ञानतर्फको नोबेल पुरस्कार जे विषयमा दिइएको थियो, त्यो सुन्दा मलाई हाँसो उठेको थियो । घामको न्यानोपन वा मायालुको अंकमालको न्यानो स्पर्शको सेन्सेसनलाई हाम्रो शरीरले कसरी स्नायुप्रणालीसम्म पुर्‍याउँछ भन्ने खोजका लागि भर्खर २०२१ को नोबेल दिइएको थियो । हेर्नोस् त, अति साधारण लाग्ने विषय होइन र यो ? तर,
खोइ त यो त भर्खर एक वर्षपहिले मात्रै हामीले थाहा पायौं । अर्थात्, हामी मानवले भयंकर प्रगति, के जाति, कति–कति गर्‍यौं भनेर आफैंलाई जति धाक लगाए पनि आफ्नै शरीरबारे त कति नै थाहा छ र विज्ञानलाई ! ब्रेन पनि अंश त शरीरकै भयो । तर, शरीरका सबै सवाल चलाउने, खासगरी हाम्रो आचरणलाई मोडरेट गर्ने जुन ब्रेन छ, त्यसबारे त अहिलेसम्म यति कम थाहा छ कि थाहा पाउन कति बाँकी छ भन्ने नै थाहा छैन ।
‘बिहेभ’ एउटा अन्तरविधागत कृति पनि हो । लेखकको मूल आधार विज्ञान भए पनि किताबमा उनले साहित्यदेखि दर्शन, कविदेखि दार्शनिकका विचारलाई पनि ल्याउँदै चिरफार गरेका छन् । टोमस हब्सदेखि जिन–ज्याक रुसोसम्म, धर्मशास्त्रदेखि मानवशास्त्रसम्म, इभोलुसनका सिद्धान्तदेखि चरणहरूसम्म उनी हामीलाई यसरी डोर्‍याउँछन् कि एक जना मान्छेको दिमागले विषयहरूको विशालतालाई विज्ञको तहबाट यति विहंगम विमर्श गर्न कसरी सकेको होला भन्ने पनि लागेको थियो, पढ्दै गर्दा । विश्वयुद्धमा काम गरेको मानव ब्रेनदेखि संस्कृति निर्माणमा देखिने प्रक्रिया, अपराधशास्त्रदेखि सामाजिक न्याय, करुणा र घृणाले कसरी काम गर्छन् भन्नेदेखि विश्व राजनीतिका इतिहासमा यी सबै विषय कसरी जोडिन्छन् भन्नेसम्म पढ्दा अचम्मै लागेको के पनि हो भने कसरी उनले यो ब्रेनको विधालाई हाम्रो समाजका सबैजसो महत्त्वपूर्ण विधासँग जोडेर हेर्न सकेका होलान् ?
मैले यो किताब २०२० को सेप्टेम्बरमा किनेको थिएँ, क्याम्बोडियाको राजधानी प्नोम पेनमा । उक्त वर्षको मार्च महिनादेखि कोरोनाको सन्त्रास यसरी भएको थियो कि त्यसले मानवतालाई खुत्रुक्क घुँडा टेकाएकै हो । भयंकर प्रगति गरिरहेको मानव जातिलाई एउटा आँखाले नदेखिने भाइरसले एकअर्काबाट भाग्नुपर्ने बनाएको थियो । मुख लुकाएर हिँड्नुपर्ने त अहिलेसम्म पनि बनाएकै छ । दोस्रो विश्वयुद्धको भयानकताप्रति असंवेदनशील टिप्पणी गरेजस्तो नसुनियोस्, तर त्यतिबेला मरेका ५५ लाख मानिसभन्दा लाखौं बढीलाई कोभिडले अहिलेसम्म लगिसकेको छ । जति बाँचेका छौं, अहिलेसम्म आइपुग्दा यसको त्रासदी त घटेको छ । तर, त्यो कोभिडको पहिलो वर्षको सेप्टेम्बरसम्म आइपुग्दा अब आफ्ना आफन्तसँग कहिल्यै पनि भेट नहुने पो हो कि भन्ने भएको थियो । मेरी पार्टनर रुचि र म त सँगै थियौं क्याम्बोडियामा, तर हवाई उडान निषेधित भएका कारण नेपाल कहिले फर्कन पाउने भन्ने अनिश्चित थियो । फर्कंदा दुवै जना सग्लै फर्कने हो कि एउटालाई उतै सद्गत गरेर, त्यसको समेत दुई जनाले सल्लाह गर्नुपरेको थियो । आखिर हामी दुईमध्ये एक बिदा भइहालेको खण्डमा अर्कोको पहिलो समस्या त त्यही सद्गत कसरी गर्ने भन्ने नै हुनेवाला थियो ।
त्यस्तो मानसिक उबडखाबडको समयमा मलाई जे पढे पनि धीत नमर्ने भइरहेको थियो । दा भिन्चीले वास्तवमा जीवनमा के विषयको खोजी गरिरहेका थिए होलान् आफ्नो कलामार्फत ? तिनले त्यो प्राप्त गरे होलान् कि नाइँ ? जोन किट्सले कुन प्रेरणाले मरेका मानिसको लास लुकीलुकी खोतलेर हेर्नुपरेको होला ? अस्तित्ववादको त्यत्रो कुरा गरिसकेपछि पनि जाँ पल सात्रलाई फेरि किन लेखिराख्नुपरेको होला ? आफैं प्रकाण्ड विद्वान् भनी कहलिएका महाकवि देवकोटाले जीवनको अन्तिमतिर पुग्दा ‘न ज्ञान भो बुद्धि, न भो विवेक’ भनेर कुन ज्ञान र विवेकको के विषय इंगित गरेका थिए होलान् ? मलाई यस्तैयस्तै ‘एक्स्ट्रिम’ विषयतिर मात्रै रुचि भइरहेको थियो । तर, जे पढे पनि र युट्युबमा जे हेरे पनि धीत पटक्कै नमर्ने भइरहेको थियो । ठीक त्यहीबेला जसरी ‘बिहेभ’ फेला परेको थियो, यसले मलाई एउटा बौद्धिक थेरापीको काम गरेको थियो । कतिपय कोरोनाअघिका, वर्षौंदेखि मनमा भएका प्रश्नको पनि यसले केही ‘कामचलाउ’ उत्तरहरू दिएको थियो ।
हामी मान्छेभित्र असलपन कहाँबाट आउँछ ? हामी यति हिंस्रक किन हुन सक्छौं ? मान्छे इभोलुसनमार्फत यदि विकसित हुँदै गइरहेको हो भने किन सभ्यताकै ठूलो नरसंहार (दुई विश्वयुद्ध) बीसौं शताब्दीमा आइपुगिसकेपछि पनि भयो ? मान्छे अहिले झन् पहिलेभन्दा बढी क्रूर भएका हुन् ? त्यसो भए केलाई सभ्य भएको भन्ने ? अहिलेसम्मका संस्कृति, राज्य, धर्म जसरी निर्माण भएका छन्, त्यस प्रक्रियामा हाम्रो ब्रेनको इभोलुसन कसरी भइरहेको छ ? यी यस्ता प्रश्न हुन्, जसमा जति पनि विमर्श हुन सक्छन्, जस्तो यस पुस्तकले गरेको छ । तर, पुस्तकका केही निष्कर्ष भने छुटाउनै मन नलाग्ने खालका छन् । जस्तो हामी आफूले अक्सर सोचेर, तार्किक रूपमा आफ्नो आचरण गर्छौं भन्ने ठान्छौं नि, त्यस्तो होइन । हाम्रा बढीजसो बिहेबिअर तत्क्षणका वातावरणका परिणाम हुन् (जहाँ इतिहास पनि मिसिएको हुन्छ) । संस्कृति–संस्कारले हाम्रो आचरण निर्धारण गरेको हुन्छ कि ब्रेनले ती संस्कृति बनाएको हुन्छ ? स्यापोल्स्की भन्छन्– यी दुवै सँगसँगै हुर्कन्छन् । अर्थात्, ब्रेन प्लास्टिक हुन्छ र यो बनेकै त्यसरी हो । यो सधैं उस्तै रहँदैन । स्मृति दिमागमा यसरी भण्डारण भएर बसेका हुन्छन् कि ति जति धेरै भए पनि तिनका लागि ठाउँ नपुग्ने भन्ने कुरै छैन । जस्तो तीन हजार शब्दको यो लेख लेख्दा सायद तीन लाख अरू शब्द मेरो मनमा घुमिसके होलान् । ती सबै अब स्मृतिमा बसिसके । ती पनि मेरा भइसके अब । यद्यपि ती बाहिर आएकै छैनन् । आज मनमा केही कल्पना गरियो भने त्यो पनि स्मृति बनेर बसिहाल्छ, जसरी आज भेटेको कोही साथी सधैं मनमा बस्छ ।
विशिष्टीकृत ज्ञानका रूपमा महत्त्वपूर्ण मात्र होइन, दैनन्दिनका हाम्रा औसत मानव उत्सुकताका विविध सवालमा पनि पुस्तकले अति रोचक तथ्य पेस गर्छ । जस्तो मैले गर्ने मेरो कुनै व्यवहारमा मेरा सेल, हर्मोन आदिको भूमिका कति हुन्छ होला ? र, तत्कालको वरिपरिको वातावरणको कति ? किन मलाई मेरो आफ्नो (देश, संस्कृति, परिवार, लेख) भन्नेबित्तिकै माया लाग्छ र कसरी मैले मेरै समाजका केही मान्छेलाई आफ्ना ठान्छु र अरूलाई अर्कै ? किन कोही मान्छे पहिलोपटक देख्दा नै मन पर्दैन ? किन कसैसँग पहिलो नजरमै भुतुक्क भइन्छ ?
यस्ता प्रश्नका बहुविधागत जवाफ रोचक त हुने भइहाले । मलाई अर्को घत परेको स्यापोल्स्कीको निष्कर्ष छ: हामी मान्छेको जात कुनै विषयको आनन्द लिनभन्दा पनि अक्सर आनन्दको खोजी वा अपेक्षा मात्रै गरिरहेका हुन्छौं । जब त्यो खोजेको चीज अघि आइपर्छ, त्यसमा रमाउनुभन्दा अर्को नभएको विषयको अपेक्षा गर्नतिर लागिहाल्छौं । अर्थात् खुसी वा शान्ति केवल निरन्तरको अपेक्षा मात्रै हो, प्राप्ति होइन ।
हामीमा उत्पन्न हुने प्रत्येक सोचाइ (र कार्य) का पछाडि त्यसको पृष्ठभूमि हुन्छ र त्यो पृष्ठभूमिपछाडि अर्को पृष्ठभूमि । इभोलुसनको जालोमा हामीहरू सबै यसरी जेलिएका छौं कि जुन चिन्तनलाई हामीले आफ्ना भन्छौं तिनीहरू हजारौं जालोहरूका सह–उत्पादन मात्रै हुन् । तिनीहरू आफैंमा स्वतन्त्र हुन सम्भव छैन किनकि हाम्रो ब्रेन कुनै छुट्टै सार्वभौम सत्ता नै होइन । जस्तो, बले र तेजे त्यो दिन त्यसरी स्कुल प्रांगणमा नलडेका भए तपाईंहरूले यो लेख यसरी पढ्नु नै हुने थिएन ।
अन्त्यमा ‘बिहेभ’ पढेपछि मेरा आफ्ना भनिएका विचारहरूलाई आफैंले एउटा परीक्षण गर्न सजिलो भएको छ । र, ऐनमौकामा तिनको अपनत्व नलिन त यस पुस्तकले झनै सजिलो बनाएको छ । त्यसमाथि जीवनमा यति नसोच्नुपर्ने विषय सोचेको छु नि मनमनै, ती किन सोचेको हुँला भनेर आफैंलाई सम्झाउन सजिलो भएको छ ।
यदि तपाईंलाई पनि आफ्ना सबै गोप्य तथा सार्वजनिक आचरण र मनमा आउने सोचाइप्रति आफैंसँग प्रश्न छन् भने ‘बिहेभ’ पुस्तकमा केही हप्ता घोत्लिनु तपाईंको बौद्धिक स्वास्थ्यका लागि रोमाञ्चक हुन सक्छ ।

Page 10
कोसेली

म किन छु ? किन छैन ?

मेरो जीवनसँग मैले फेर्ने श्वासको के सम्बन्ध छ ? किन छ ? शरीरका भाग प्रायः ठोस, स्थूल र तरल छन्, तर प्राणका लागि अपरिहार्य मानिने श्वास किन देख्न र महसुस गर्न गाह्रो छ ?
- सृष्टि राणा

सायद विज्ञानको कमजोर पक्ष भनेकै यसले प्रायः ‘किन’ को उत्तर दिन सकेको छैन । भौतिक विज्ञानले पृथ्वीको कणकण वा भनौं अणुअणु पत्ता लगाएको छ । यद्यपि विज्ञानले त्यो सानोभन्दा सानो अणु, त्यसको अस्तित्वको कारण र रहस्य भने पत्ता लगाउन सकेको छैन । चिकित्सा विज्ञानले पनि मानव शरीरका सूक्ष्मभन्दा सूक्ष्म, आँखाले नदेखिने कोषिकाबारे जानेको छ, तर ती कोषिकाका अस्तित्वको कारक तत्त्वबारे चित्तबुझ्दो उत्तर अहिलेसम्म दिन सकेको छैन ।
विज्ञानभन्दा फरक विषयमा लागेर आफ्नो जीवन बौद्धिक क्षेत्रमै लगानी गर्ने निर्णय गरेपछि सोचें– मैले कम्तीमा पनि मानिसको अस्तित्वको कारणसम्बन्धी प्रश्नबाट मेरो चिन्तन–यात्रा सुरु गर्नुपर्छ । हामी को हौँ ? हामी किन छौँ ? तर, यस्तो चिन्तन गर्न खोज्दा लाग्यो– यी प्रश्न त महासागर हुन्, महासागर तर्न सकिँदैन ! त्यसपछि लाग्यो, सबै मानव जातिको नसके पनि कम्तीमा म आफ्नो अस्तित्वको उत्तर भने खोज्ने प्रयास गर्न सक्छु । म को हुँ ? म के हुँ ? म किन छु ? अनि विचार गरें, आफूलाई त बुझ्न नसक्नेले अरू ज्ञानको के कुरा गर्ने ? आफैंलाई नचिनी आफ्नो अरू बौद्धिक अभ्यासलाई कसरी सार्थक बनाउने ? आफैंलाई नजानी त मेरो ज्ञानको खोजी फगत एउटा ढोङ हुनेछ, औपचारिक प्रमाणपत्रको निर्जीव कागजमा सीमित ! मलाई मेरो ज्ञान–खोजीको यात्रा जीवन्त बनाउनु थियो ।
ममा यस्तो सोच आउनुमा यदाकदा सुनेका केही विचारको प्रभाव छ । कुनै ज्ञानीले भनेका थिए, ‘एक जीवित मानिसको अस्तित्वमा ब्रह्माण्डको सबै रहस्य लुकेको हुन्छ । यदि हामीले आफ्नो अस्तित्व बुझ्न सक्यौँ भने सम्पूर्ण ब्रह्माण्ड बुझ्न सक्छौं ।’ ‘गीता’ मा श्रीकृष्णले आफूभित्र ब्रह्माण्ड छ भन्न खोजेको पनि त्यही हो कि ? तर, मानव जीवनको एकाइ मात्र होइन, एउटा अणुको मात्रै पूरा डाइनामिजम वा गतिशीलता बुझ्न सक्ने हो भने पूरै ब्रह्माण्ड बुझ्न सकिन्छ भनेको पनि सुनेको थिएँ । भारतका प्रसिद्ध आध्यात्मिक गुरुले इंगित गरेका थिए, ‘हामी ठूलाठूला कुरा जानेको/बुझेको जस्तो गर्छौं, तर आफूले लिने साधारण श्वास, जुन झन्डै हाम्रो जीवितताको आधारभूत मापन हो, त्यसको डाइनामिजम वा गतिशीलता पनि बुझेका हुँदैनौं ।’ यो कुरा मलाई निकै घत पर्‍यो । महसुस भयो– ‘ओहो ! यति धेरै अध्ययन गर्दा, देश विदेशबाट विभिन्न औपचारिक अध्ययन हासिल गर्दा, आफ्नो सुरुदेखिकै जीवन बौद्धिक कसरतमा लगाउँदा पनि मलाई साधारण आफ्नै जीवनको स्रोतको त अत्तो पत्तो रहेनछ ।’
त्यस्तो महसुसपछि मैले आफ्नो श्वासप्रश्वासको गतिशीलतालाई अलिकति भए पनि नियाल्ने प्रयास गरें, तर सफलता खासै मिलेन । आफ्नो श्वासको गतिशीलता पूरै ठम्याउनै सकिनँ । मैले फेर्ने श्वासको मेरो जीवनसँग के सम्बन्ध छ र किन छ ? शरीरका भाग प्रायः ठोस, स्थूल र तरल छन्, तर प्राणका लागि अपरिहार्य मानिने श्वास भने किन देख्न र महसुस गर्न गाह्रो छ ? यस्ता प्रश्नमा जति घोत्लिए पनि मैले जवाफ भेट्नै सकिनँ । लाग्यो, अहिलेसम्मको मेरो ज्ञान त हावामा बनेको महल रहेछ– निरर्थक, गतिशीलताहीन र खोक्रो । यही अनुभवले मैले ज्ञान–खोजको दिशा परिवर्तन गर्ने निर्णय गरेँ । आफ्नो बौद्धिक अभ्यासको केन्द्रविन्दु– आफूलाई बुझ्ने, आफ्नो अस्तित्वको ‘किन’ खोज्ने– यात्रालाई बनाएँ । अनि यहाँबाट सुरु भयो मेरो एउटा अनौठो अजिब यात्रा ।
यात्रा कसरी सुरु गरें भनेर यहाँ बुझाउन सम्भव छैन । तर, मेरो यात्राका आरम्भिक अनुभवले आजसम्मका विचार/बुझाइमा सानो तरंग होइन, आँधीबेहरी नै आएको छ । म उथलपुथल भएको छु । मसँग कुनै स्पष्टता आएको छैन । झनै प्रश्नै–प्रश्नको कहालीलाग्दो पहाड देखापरेको छ, जसले हरक्षण थिच्न खोजिरहेको हो कि जस्तो भान हुन्छ । मेरो ठाउँमा अरू भएका भए धैर्यपूर्वक चुपचाप आफ्नो यात्रा अघि बढाउँथे होलान् । आफ्ना आरम्भिक अजकल्टो प्रगति देखाउन हिचकिचाउँथें होलान् । तर, म लेखक भएकाले मलाई आफ्नो अनुभव लेखेर अरूलाई बताउन मन लागिहाल्यो । त्यसैले यस लेखमा आफ्नो अस्तित्व बुझ्ने क्रममा मभित्र चलेको हुरी–बतासले ल्याएको बेचैनीको कथा लेख्दै छु । जसरी मेरा अनुभव, अनुभूति सुन्दर चिटिक्क मिलेका छैनन्, यो लेख पनि अपरिष्कृत र अपरिपक्व हुन सक्छ । धेरैलाई अमूर्त लाग्न सक्छ । यो अशान्त र अपूर्ण पनि छ, मेरो अन्तर्मनमा अहिले भएका वेदनाको अराजकता जस्तै ।
सबैभन्दा पहिले, आफ्नो अस्तित्व बुझ्ने क्रममा, मैले ‘आत्मा’ बुझ्ने प्रयास गरँ । सानैदेखि सुनेको हुँ– ‘हामीभित्र आत्मा हुन्छ, जुन अजम्बरी र सत्य हुन्छ । हामी मरेर जान्छौं, आत्मा भने मर्दैन ।’ तर, मैले आफ्नो आन्तरिक संसारभित्र आत्मा खोज्ने क्रममा कुनै ठोस अस्तित्व महसुस गर्न सकिनँ । मभित्र जे पाएँ गतिशील पाएँ, क्षणक्षणमा बदलिरहेको अनुभव हुने । एउटा कन्टिनियम वा एउटा निरन्तर गतिशीलताजस्तो । जति भित्र हेर्छु, जति गहिरिएर हेर्छ,ु कुनै ठोस अस्तित्व महसुस नै हुँदैन । कहीँ–कहीँ कता–कता केही–केहीे भएजस्तो । तर, जे छ त्यो बादलजस्तो, समय समयमा आफ्नो आकार र स्वरूप फेरिरहेको जस्तो । यदि मभित्र केही ठोस नै छैन भने त्यो कसरी अमर हुन्छ ? त्यो कसरी अपरिवर्तनीय र सत्य हुन्छ ? यदि केही त्यस्तो ठोस छैन भने म नै के हुँ ? कसरी छु ? केही विद्वान्ले भनेजस्तै के म ‘संज्ञा’ (नाउन) नभएर ‘क्रिया’ (भर्ब) हुँ ? यदि म ‘क्रिया’ हुँ वा ‘प्रक्रिया’ हुँ भने किन हुँ ? म किन यस्तो छु– म यस्तो हुँ भनेर आफूलाई बुझ्नै सक्दिनँ ?
मेरो यात्राको अर्को अनुभूति भनेको क्षणक्षणमा परिवर्तन भइरहने आन्तरिक आवाजहरू हुन् । विज्ञानले भन्छ, हामीभित्र एउटा दिमाग हुन्छ, जसले विभिन्न विचारहरू प्रवाह गरिरहन्छ । विज्ञानले दिमागलाई चेतन/अर्धचेतन/अचेतनजस्ता सूक्ष्म ढंगले पनि बुझाउने प्रयत्न गरेको छ । विज्ञानले यो पनि भनिदिन्छ– भावना/सिर्जनशीलता हाम्रो दाहिने दिमागबाट उत्पन्न हुन्छन् भने तर्कपूर्ण सोचाइ/विचारहरू देब्रे दिमागबाट आउँछन् । तर, मैले बुझ्न नसकेको विषय, हामीभित्रका सबै वैचारिक/भावनात्मक तरंगहरू एउटै दिमागको स्रोतबाट आउँछन् भने तिनीहरूमा किन एकरूपता छैन ? किन तिनीहरू एक–अर्कासँग बेलाबेलामा परस्पर विरोधमा रहन्छन् ? जस्तै विहान ६ बजे घडीको घण्टी बज्छ । मभित्रको आवाजले भन्छ, ‘उठ्ने बेला भइसक्यो, अब उठिहाल ।’ एक क्षण पनि नबित्दै फेरि उहीजस्तो लाग्ने स्थानबाट अर्को आवाजले भन्छ, ‘उठ्नुपर्दैन, अलिबेर सुते हुन्छ । हिजो धेरै थाकेका थियौ ।’ एउटै दिमागको स्रोतबाट किन विरोधाभासपूर्ण आवाजहरू आउँछन् ? किन मभित्रै राम्रो–नराम्रो, माया–रिस, खुसी–पीडा, दया–ईर्ष्याजस्ता विपरीत तरंग सहअस्तित्वमा सँगै बसेका छन् ? के यी तरंगहरू भ्रम हुन् ? कि विज्ञानले भनेको ‘दिमाग’ भ्रम हो ? यदि हाम्रो अस्तित्वको कडी ‘आत्मा’ पनि भेटिँदैन, ‘दिमाग’ पनि होइन, भने के हो त ? त्यो कहाँ छ ? त्यो किन हामी भेट्टाउन वा प्रत्यक्ष महसुस गर्न सक्दैनौं ?
आफ्नो अस्तित्वको खोजीमा मैले अर्को बुझ्न नसकेको विषय अनित्यतासँग सम्बन्धित छ । खोजक्रममा एउटा कुरा भने प्रस्ट भयो– जीवन अनित्य छ । यो घडीघडीमा बदलिरहन्छ । हामीले यो अस्थिरता नचाहे पनि जीवनमा हुने निरन्तर परिवर्तनलाई कुनै शक्ति वा स्रोतले अहिलेसम्म रोक्न सकेको छैन । विज्ञानका ठूलाभन्दा ठूला आविष्कारहरू पनि जीवनको अनित्यतालाई बदल्न असफल भएका छन् । मृत्युको अवश्यम्भाविता तोड्न सकेको छैन । अनित्यता नै म भएको संसारको नित्य सत्यजस्तो देखिन्छ । तर, यो बुझ्दाबुझ्दै पनि किन म स्थायीपनको मोह राख्छु ? म किन मृत्युसँग भाग्न खोज्छु ? मलाई किन विछोडको पीडाले सताउँछ ? म किन सधैं रहिरहने सम्बन्ध, आफ्नै स्वामित्वको बासस्थान र सुविधै सुविधाको सुनिश्चितता गर्ने कामको लागि दिन–रात खटिरहन्छु ? मेरो मन किन अटल र अमर प्रेमको खोजीमा भौंतारिन्छ ?
के यो नै जीवनको विडम्बना हो ? कि यो जीवन नै विडम्बनाको निरन्तर बगिरहने अन्तहीन तरंग हो, जसमा ‘म’ भन्ने कुनै एकल अस्तित्व नै छैन । हो, विभिन्न अणुले बनेको मेरो शरीर छ, जुन हरेक पल बदलिइरहेको हुन्छ । एक दिन यो शरीर नाश हुन्छ । धूलो वा खरानीमा परिणत हुन्छ । मैले जति खोजे पनि सधैं रहिरहने एउटा ठोस ‘म’ भन्ने कतै भेट्नै सकिनँ । जे पाएँ अनित्य पाएँ– निरन्तर गतिशील, अविरल बहावजस्तै । जति खोजे पनि आफूभित्र आफूलाई भने पाउनै सकिनँ । के मैले मेरो यात्रा नै गलत प्रश्नबाट सुरु गरें ? सही प्रश्न त, ‘म किन छु’ होइन, ‘म किन छैन’ हुनुपर्ने थियो कि ?

कोसेली

कमरेडको जनै !


समाजवादी आदर्श बोकेका
होनहार कमरेड
अमेरिकाको स्विमिङ पुलतिर
किन रमाइरहेछन् भिरेर जनै ?

कुनै चिन्ता छैन अब कमरेडलाई
जनै खटिराको,
भइसकेको छ तय
नास्तिकतादेखि आस्तिकताको पृथक् यात्रा ।

सम्झेलान् कि बिर्सिसके होलान्
कमरेडले आजभोलि,
रोल्पा र रूकुमका राता बस्ती ?
सुसेल्लान् कि नसुसेल्लान्
भन्ज्याङ र देउरालीहरुले,
मुक्तिको सचेत सुसेली ?
सम्झेलान् कि बिर्सिसके होलान्
सल्यानका राताम्मे वन पाखाहरु ?
कस्तो क्रान्ति गर्छन् होला
कमरेड आजकल ?
मगजमा क्रान्तिका खत
बाँकी होलान् कि नहोलान् ?
कस्ता धारणा बुन्दा हुन् शक्तिराष्ट्रबारे
अमेरिका भासिएका कमरेड ?
मुक्तिको बीउ रोपेको भूमि
कसरी बुझ्दा हुन् अहिले ?

बिर्से कि सम्झँदै होलान्
आफैंले बोकेको रक्तरञ्जित झन्डा ?
चेको छापामार युद्ध ?
मार्क्सको पुाजीको ठेली ?
लेनिनको अक्टोबर क्रान्ति ?
सम्झेलान् कि बिर्से होलान्
अधिकारका अनेकन् आन्दोलन ?
गुनगुनाउलान् कि नाइँ
लालझुपडीका संगीतहरु ?
पोल्दै होला कि नहोला
सयौं राता सहिदका सम्झनाले ?

पुँजीपति भएका छन् कमरेड
आजकल
बिहानै डुलाउँछन् जर्मन सेफर्ड
जप्छन् देउताको नाम
गर्छन् पितृ श्राद्ध
सेलाउँछन् पिण्ड–
सेलफोनमा भिडियोबाटै ।

साँच्चै, स्मृतिको डिलमा उभिएर
कस्तो वैचारिक उडान भर्दै होलान्
कमरेड आजकल ?

सुविन न्यौपाने 'कान्जिभाइ'

कोसेली

जेठा बा !


धूमिल अनुहारमा
पिँढीमा बसिरहन्छन् रे
सोचमग्न, विचारशील
एक्ला जेठा बा
स्मृतिहरुको जुलुस बोकेर ।

लाग्छ— सिङ्गो पहाड उभिएका हुन् जेठा बा
पहाडको हरियाली मरेर
फुस्रोफुङ्गोझैं
रुखहरु
विनापात खडेरीले झरेको झैं
सुकेका हाागाहरु मात्र
ठिङ्ग गलेर हात फैलाएझैं
वर्षौंदेखि कोहीकोही कुरिरहेझैं
उदास, हतास, जीर्ण
उत्तरार्द्धमा छन् रे जेठा बा ।

पहिले–पहिले यस्ता थिएनन्
गाउाको सोझो, इमानदार, कर्तव्यनिष्ठ सिपाही
एउटा सिङ्गो खम्बा
कसैको दुःखमा दुःख बााड्ने
कसैको सुखमा सुख साट्ने
गाउाका मियो थिए
उनको चाल, उनको मान,
उनको शान, उनको हासाइ, उनको बोलाइ, उनको हिाडाइ
विछट्टै हासिलो, रसिलो
भरिलो अनुहार बोकेर
सबका प्यारो थिए
आज जेठा बाका थाकेका आाखाहरुले
चुपचाप सोध्न खोजेका प्रश्न
एउटा लामो आख्यान हो
जेठा बाको मुजामुजा परेको अनुहार
कुप्रिएको ढाड
सुकेको ज्यान
जीवनीको एउटा सिङ्गो किताब हो ।
यो किताबमा धेरैथोक अटाए
तमाम आफन्तजन,
छोराछोरी, नातिनातिना
जो घुमिरहेछन् अचेल देश–विदेश
आफ्नै बा बिर्सेर ।

उहिले मलाई पनि
पिठ्युँमा बोकेर हिँड्थे
‘हट् घोडा हट्’ भन्दै
आफ्ना इच्छाहरु मारेर
मेरा हरइच्छा पूरा गरेर
लक्का जवान बनाए
बदलामा दिने केही छैन मसाग
विदेशबाट रूादै सम्झिनुसिवाय

जसै तिम्रो फेरिएको अनुहार
हेर्न मन छ,
तिम्रो आाखाको डिलमा बास बस्न
तिम्रो भागेका खुसीहरु सागाल्न
र, हामीले हिाड्ने तारे खेत
हामीले पौडने बुदरी खोला
हाम्रो वनपाखामा गम्कने आवाजहरु
घनीभूत पार्न
परदेशबाट फिर्ती हुनेछ यो छोरो !

बाबुराम श्रेष्ठ 'यात्री'

कोसेली

फलाम निकाल्ने आग्रेका कथा

वृत्तचित्र ‘आग्रे’ का नायक रज बुढामगर

कुनै बेला मलाई संसारका फिल्म फेस्टिवलहरूमा पुग्ने भूत चढेको थियो । दशकअघि (१८ वर्षको उमेरमा) साथमा एउटा क्यामरा, एउटा ट्राइपोड अनि थर्मकल बोकेर ६ जनाको समूहमा निस्केको थिएँ– भेडाहरूका लिडर ‘लोम्बा’ खोज्न । लोम्बाको मृत्युपछि गोठालालाई पर्ने समस्यामाथि बनेको थियो, मेरो पहिलो छोटो फिल्म– लोम्बा ।
फेस्टिवल पुग्ने सपनाले छाडेन । सन् २०१७ मा ‘लोम्बा’ ले अमेरिकालगायत मुलुकमा अवार्ड जित्यो । तर, अवार्डले गाली गरे, ‘फेस्टिवलवाला फिल्म बनाएर मात्रै घरजग्गा बेचेर फिल्म बनाउने निर्माताको पैसा उठ्छ त ?’ कसैको घर–व्यवहार उजाडेर फिल्म बनाउनु हुन्न भन्ने सोचले पखेटा हाल्यो । एक दशकसम्म फिल्म बनाउनै सकिनँ ।
फेस्टिवलहरूमा पुग्ने सपना बिस्तारै हराए । फिल्मबाट टाढिँदै अमेरिका पलायनको बाटो रोजेँ । एक साता थाइल्यान्ड जेलको चिसो हावा खाएर आफ्नै देश फर्किएँ । त्यसपछि ? फेरि फर्किएँ, फिल्ममै ।
लकडाउनपछि फलाम खानीमाथि डकुमेन्ट्री बनाउन ‘जेलबाङ सेवा समाज’ का अध्यक्ष रामप्रसाद बुढामगर र कवि विष्णु सन्यासको पछि लागेर रोल्पा जेलबाङ पुगेँ । खानी–कथा खोज्यौं । त्यहाँका मान्छेका जीवनशैली, पहिरन, बोलीचाली, दर्शन अन्य ठाउँका भन्दा भिन्न थियो । फलाम खानीको इतिहास पनि एउटा नभनिएकै कथा थियो ।
इतिहास भन्छ– जेलबाङमा विसं १६८७ मा सुरु भएको थियो, फलाम खानी । गजुलकोटे राजा कर्णपाल सिंहले इरिबाङ, पाछाबाङबाट सिपालु मगर झिकाएर खबाङमा फलाम उत्खनन गराए । उनैका पालादेखि जेलबाङमा फलाम, तामा र सुन खानी सुरु भयो ।
विसं १६८७ देखि १८४३ सम्म जेलबाङबाट गजुलकोटमा १५५ वर्षसम्म करका रूपमा सरकारलाई फलाम बुझाउँदै आएको र १८४३ मा गजुलकोट कब्जा भइसकेपछि जेलबाङलगायत पूर्व क्षेत्रका गाउँहरू प्यूठानमा गाभिए । १८४३ देखि २०१७ सम्म जेलबाङवासीले प्यूठानमा १३६ धार्नी फलाम बुझाउँदै आएका रहेछन् । २०१७ सालयता रोल्पा जिल्ला भइसकेपछि पनि अन्य जिल्लाका खानी बन्द थिए । तर, रोल्पामा २०४६ सालसम्म फलाम खानी चलेको रहेछ ।
यो इतिहास उनेर कसरी चल्ने चित्र अर्थात् चलचित्रको माध्यमबाट देखाउने ? निकै पोल्यो । फेरि, खानी चलिरहेको समयमा काम गर्ने व्यक्तिहरूको नाम र उनीहरूका कथा खोज्न कवि सन्यासलाई आग्रह गरेँ । उनले खोजेर ल्याए । ती कथामध्ये १० वर्षको उमेरदेखि खानीमा काम गरेका ८६ वर्षे वृद्ध रज बुढामगरका जेठा छोरा खानी बन्द भएकै कारण कालापार हिँडेको र नफर्केको साथै खानीकै कारण बिदेसिने क्रममा कान्छा छोरालाई पनि त्यसबेलाको शाही सेनाले मारेको कथाले मन छोयो । कथा पाएपछि चलचित्र बनाउने निर्णय लिएँ । जेलबाङ गाउँसँग भेट्ने वाचा लिएर काठमाडौं फर्कियौं ।
काठमाडौं आएपछि मेरो काम जेलबाङको कथालाई नेपालको खानी इतिहाससँग मिसाउनु थियो । नेपालमा खानी कति सालदेखि सुरु भयो ? खोजीले निदाउन दिएन । खानी विभागको पुस्तकालयमा खानीबारे खोजेँ । दुःखको कुरो, खानी विभागको पुस्तकालयमै खानी–इतिहास पाइएन । उल्टो उनीहरूले भने, ‘वृत्तचित्र बनाएपछि एक कपी हामीलाई पनि दिनुहोला है सर ।’ जे होस्, लेखक नवीन विभासको सहयोगले केही मात्रामा इतिहास जम्मा गरेँ ।
त्यसपछि खानी–कथालाई कहिले मीठो भाषाले सम्झाएँ, कहिले तीतो भाषाले गाली गरेँ । कति रात ननिदाएरै उज्याला भए । चलचित्रबाट के भन्ने अर्थात् के देखाउने कुराले सताउन थाल्यो ।
निर्माताले दिएका थिए, १५ दिन समय । अघिल्लो रातसम्म पनि चलचित्रको रूप आएन । १७ औं दिनमा बल्ल ‘आग्रे’ अर्थात् ‘द आइरन डिगर’ नाम जुर्‍यो वृत्तचित्रको । जुर्‍यो, चलचित्रबाट भन्ने कथा पनि– सरकारले खानी बन्द गरेपछि जेलबाङ गाउँको जनजीवनमा परेको असर । सुटिङका लागि पुनः रोल्पा–यात्रा सुरु भयो ।

खानी गाउँसँग फेरि भेट
कहिले खाएर, कहिले नखाएर सुटिङ गरियो । मनले खाएको पात्रअगाडि क्यामरा राख्दा नबोल्ने । तर, क्यामरा लुकाउँदा छोराजस्तै गरी खुलेर बोल्ने । पटकपटक एउटै पात्रको पछि लाग्दा दिन लम्बिने र निर्माताको बजेट बढ्ने पीडाले सतायो । ११ औँ दिनमा प्रोडक्सनको काम सकियो । पोस्ट प्रोडक्सन सुरु भयो । तर, नसकिँदै कोरोनाको दोस्रो लहर सुरु भयो । लकडाउन भयो । म जन्मभूमि रुकुम तकसेरा गएँ ।
लकडाउनका कारण २०२१ को अन्तिम दिन सम्पादन सकियो । २०२२ को पहिलो रात १२ बजे ‘आग्रे’ चलचित्रको पोस्टर रिलिज भयो ।

फेस्टिवल–यात्रा
प्रायः सोच्छु– मैले देखेको, भोगिरहेको र सुनिरहेको कथाहरूलाई चलचित्रको माध्यमबाट दर्शकको काखमा पुर्‍याउन सक्छु कि सक्दिनँ ?
‘आग्रे’ लाई फिल्म फेस्टिवल र प्रचारप्रसारमा नलैजाउँ भनेर निर्मातासँग भनेँ । तर, उनीहरूले मानेनन् । मसँग भएका फुटेजलाई के बनाउन सकिन्छ भन्ने सोचमै एक वर्ष बित्यो । तर, पनि फेस्टिवलमा पुग्छ वा पुग्दैन भन्ने कुराले सताइरह्यो ।
अन्तर्राष्ट्रिय फेस्टिवलहरूमा पठाउन थालेँ । बडेमानका फेस्टिवल कुर्ने समय नभएकाले ‘दक्षिण एसिया’ फिल्म फेस्टिवलमा पठाएँ । तीन हजारमध्ये ६४ चलचित्र छानिए, ‘आग्रे’ पनि छानियो । छनोटले टिम खुसी भयो । प्रिमियर माग्ने फेस्टिवलबाहेक अरू फेस्टिवलमा पनि पठाउन थाल्यौं । अहिलेसम्म ‘आग्रे’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरूमा नौ देशमा नौ फेस्टिवलमा छनोट भयो । र, यसले तीन देशमा तीन उत्कृष्ट डकुमेन्ट्री अवार्ड पायो ।
निर्माता त खुसी भए । तर, मन एउटै प्रश्नले पोलिरहन्छ– नेपाली चलचित्रकर्मी खुसी हुनुपर्ने कहाँनेर हो ? नेपाली चलचित्रको बजार व्यवस्थापनमा कि फेस्टिवलमा हजार फिल्मकर्मी अघि अवार्ड थाप्दा ?

अनिल बुढामगर

Page 11
कोसेली

बाजेलाई भान्काको चिठी

विश्व–कथाका महारथी आन्तोन चेखबको स्मृतिमा जुलाई महिनाभरि संसारमा विविध गतिविधि हुन्छन् । यसपालि हामीले तिनै महान् लेखकका कथाहरुमाथि विमर्श गरेका छौं ।
- अभय श्रेष्ठ
एजेन्सी

लेखक जगदीश घिमिरेले ‘अन्तर्मनको यात्रा’ किताबमा भर्तृहरिको जीवन–प्रसंगसँग रुसका महान् कथाकार आन्तोन चेखब (१८६०–१९०४) को एउटा कथा हुबहु मिलेको उल्लेख गरेका छन् । एक जना प्रजाले राजा भर्तृहरिलाई अजम्मरी हुने फल दिन्छन् । राजाले त्यो फल नगरवधू प्रेमिकालाई दिन्छन् । नगरवधूले सिपाही प्रेमी अश्वपाललाई, अश्वपालले दरबारकी नर्तकीलाई र नर्तकीले राजालाई नै दिन्छिन् । स्वार्थको यो गोलचक्कर थाहा पाएपछि भर्तृहरि दिक्दार हुन्छन् र भाइ विक्रमादित्यलाई राजपाठ सुम्पी संन्यासी भएर वनवास जान्छन् । पुस्तकका अनुसार, चेखबको कथामा एक बिरामीले डाक्टरलाई एउटा उपहार दिन्छ । डाक्टरले त्यो उपहार प्रेमिकालाई, प्रेमिकाले अर्कै प्रेमीलाई र प्रेमीले डाक्टर पत्नीलाई अनि पत्नीले फेरि डाक्टरलाई नै दिन्छे (अन्तर्मनको यात्रा, पृष्ठ. १४३, बुकहिल संस्करण) ।

बहुरूपी सत्य
घिमिरेले उल्लेख गर्न खोजेको चेखबको त्यस कथाको शीर्षक हो, ‘अ वर्क अफ आर्ट’ । त्यसको सार र संवेदना घिमिरेले लेखेभन्दा नितान्त भिन्न छ । भर्तृहरिको प्रसंगमा प्रेमका नाममा मानिसहरूका आ–आफ्नै स्वार्थ र धोकाबाजीको कथा छ । चेखबको कथामा भने अबोध बालकले कृतज्ञता स्वरूप दिएको उपहारबारे फरक वर्गको फरक संवेदना र अवधारणा छ ।
गरिब बालक सासा स्मिरनोभ डा. कोसेलकोभलाई मैनबत्ती अड्याउने अनुपम कलाकृति उपहार दिन्छ । त्यसको दीपाधारमा इभको वेशभूषामा दुई युवती उभिएका हुन्छन् । त्यो उसको स्वर्गीय बाबुले छाडिगएको एक मात्र स्मृति–चिह्न हुन्छ । डाक्टरलाई शुल्क तिर्न नसक्दा सासाले त्यही दुर्लभ चीज डाक्टरलाई उपहार दिएको हुन्छ । सासा त डाक्टरलाई त्यस उपहारको जोडी नै दिन चाहन्थ्यो । तर, ऊसँग त्यही एउटा मात्र थियो । डाक्टरलाई लाग्छ, कलाका दृष्टिले उत्कृष्ट भए पनि दुई युवतीको अदाले त्यसमा अश्लीलता झल्किन्छ । पत्नी, छोराछोरी र ग्राहकले देखे वित्यास पर्छ भनेर ऊ त्यो उपहार वकिल मित्र उहोभलाई दिन्छ । उहोभको मनस्थिति डाक्टरको भन्दा भिन्न हुँदैन । त्यो उपहार ऊ हास्य कलाकार सासकिनलाई दिन्छ । सासकिनले पुरानो कलाकृति संकलन केन्द्रमा बेचिदिन्छ । त्यो संकलन केन्द्र सासाकै आमाको हुन्छ । सासा खुसी हुँदै फेरि त्यही उपहार डाक्टरलाई थमाउँदै भन्छ, ‘म तपाईंलाई त्यसको जोडी उपहार दिन चाहन्थेँ । बल्ल भेटेँ । कृपया अस्वीकार नगर्नु होला !’
आफ्नो ज्यान बचाइदिने दयालु डाक्टरप्रति एउटा अबोध बालकको अनुपम सद्भाव र चोखो कृतज्ञता नै कथाको चुरो हो । बालक निःस्वार्थ छ । उसलाई देश, दुनियाँको धारणासँग कुनै सरोकार छैन । तर, डाक्टर, वकिल र कलाकारलाई दुनियाँले के सोच्छन् भन्ने चिन्ता छ । कथाले यसरी बहुरूपी सत्यको अति सूक्ष्म चित्रण गर्छ ।

कालजयी साहित्य
भारतका प्रख्यात कवि तथा पत्रकार रघुवीर सहाय भन्छन्, ‘साहित्य र पत्रकारिता दुवैको उद्देश्य नयाँ मानवीय सम्बन्धको खोजी गर्नु हो । तर, पत्रकारिताले भइसकेको कुरा लेख्छ, साहित्यले के हुनेवाला छ भन्ने जनाउँछ ।’ अर्थात् साहित्य कालजयी हुन्छ, जहाँ आज लेखिएको विषयको सान्दर्भिकता युगौँसम्म रहिरहन्छ । हाम्रै कवि रिमाल र भूपिहरूका कवितालाई गहिराइमा हेर्दा पनि छर्लंग हुन्छ । चेखबका कथा र नाटकले १९औँ शताब्दीको रुसी मनोविज्ञानका कथा भन्छन्, तर ती संसारका जुनसुकै कुनामा जुनसुकै समय उत्तिकै सान्दर्भिक लाग्छन् । ती कृति पढ्दा हामीले अहिले लेख्न छुटाएको विषय उनले उहिल्यै लेखिसकेझैँ लाग्छ ।
चेखब मान्छेका करुणा र क्रूरतालाई गहिराइमा पुगेर नियाल्ने दुर्लभ कथाकार हुन् । ‘व्यथा’ मा गरिब वृद्ध इयानो आफूले केही दिनअघि मात्रै जवान छोरा गुमाएको असम्भार दुःख बग्गी चढ्नेहरूलाई सुनाउन चाहन्छ । तर, उसको व्यथा सुन्ने धैर्य र सहानुभूति प्रकट गर्ने हृदय कसैसँग छैन । ऊ बग्गी तान्ने घोडीलाई सुनाएर मन हलुका पार्छ । संवेदना र क्रूरताको कायल पार्ने अर्को कथा हो– ‘शत्रुहरू’ । एक जना डाक्टरको बालक छोराको भर्खरै निधन भएको हुन्छ । छोराको लासअगाडि घुँडा टेकेर उसकी पत्नी विलाप गरिरहेकी हुन्छे । यस्तै बेला छोराको सद्गत नगरी ऊ मानवताका नाताले हृदयाघात भएकी महिलाको उपचार गर्न पुग्छ । तर, महिलाले अर्को पुरुषसँग पोइल जान लोग्नेसँग नाटक गरेकी हुन्छे । यो थाहा पाउँदा डाक्टर रिसले चुर हुन्छ । डाक्टरको त्यो असीम संवेदनशीलतालाई नबुझी लोग्नेचाहिँ धनको तुजुक देखाउँदै सोध्छ, ‘किन रिसाउँछौ ? मैले तिमीलाई त्यसै ल्याएको होइन । भन, तिम्रो फिस कति भयो ?’
‘बैदारको मृत्यु’ मा चेखब व्यर्थको विषयमा मान्छेले आफ्नो अमूल्य समय र जीवन नष्ट गरिरहेकामा चिन्ता प्रकट गर्छन् । इभान द्मित्रिच चेर्भ्याकोभ अर्कै कार्यालयको जर्नेलसामु हाच्छिउँ गर्दा पछुतो मान्छ र बारम्बार माफी माग्छ । जर्नेल यसलाई गम्भीरतापूर्वक लिँदैन । भोलिपल्ट जर्नेलको घरमै गएर ऊ फेरि माफी माग्छ । जर्नेल बेस्सरी रिसाउँछ । बिचरा बैदार भित्रभित्रै कुँडिएर घर पुग्छ र सुतेकै अवस्थामा उसको मृत्यु हुन्छ । (समालोचकहरूले विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ लाई यसै कथाको प्रभाव भनेका छन् ।)
चेखबका अधिकांश कथाको सान्दर्भिकता संसारमा मानव समाज रहुन्जेल जीवित रहन्छ भनिन्छ । उनको सर्वाधिक चर्चित कथा हो– ‘छेपारो’ । यसमा जारकालीन प्रहरी हाकिमको दास मनोविज्ञान राम्ररी झल्किन्छ । सुनार रिउकिनको औँला छाडा कुकुरले टोकेपछि बजारमा तमासा हुन्छ । प्रहरी हाकिम अचुमेलोभ रिउकिनको पक्ष लिँदै कुकुर छाड्नेलाई सजाय दिन्छु भन्छ । भीडबाट कसैले त्यो कुकुर जर्नेल जिगालोभको हो भन्नासाथ उसको बोली फेरिन्छ । ऊ रिउकिनलाई नै गाली गर्छ । सँगै हिँडिरहेको प्रहरी जवानले ‘जर्नेलकहाँ यस्तो चुत्थो कुकुर छैन’ भनेपछि ऊ फेरि रिउकिनलाई ढाडस दिन्छ । जर्नेलको भान्छेले कुकुर जर्नेलको भाइको भनेपछि हाकिम त्यही भुस्याहा कुकुरको सुन्दरताको बखान गर्दै फेरि रिउकिनलाई नै कारबाही गर्ने धम्की दिन्छ ।

संवेदनहीनताको मूल्य
चेखबले किशोर र बालबालिकाको संवेदनाबारे थुप्रै कथा लेखेका छन् । तीमध्ये एउटा विश्वप्रसिद्ध कथा हो– ‘भान्का’ । नौ वर्षे अनाथ सार्की भान्का जुकभलाई हजुरबाले सहरमा काम सिक्न पठाएका हुन्छन् । मालिक, उसको परिवार र सहकर्मीहरू उसलाई असह्य दुःख दिन्छन् । अन्ततः कोही नभएको मौका पारेर ऊ हजुरबालाई आफ्ना सारा दुःख बयान गरेर चिठी लेख्छ । विचरा त्यो अबोध बालक खाममा हजुरबाको ठेगाना लेख्छ– गाउँमा हजुरबा । अनि हुलाक कार्यालयको बाकसमा चिठी खसाल्छ ।
किशोर–किशोरीप्रति अभिभावक र ठूलाहरूको संवेदनहीनताको मूल्य कति महँगो पर्छ भन्ने तीतो सत्य ‘भालोद्या’ कथाले प्रकट गर्छ । किशोर मनोविज्ञानको यति संवेदनशील कथा संसारभरि दुर्लभ छ । १५ वर्षे अन्तर्मुखी भालोद्याको सुषुप्त अनुरागको नौनीमा न्युता नामकी ३० वर्षे थसुल्ली आगो झोसिदिन्छे । जब भालोद्या ऊसँग प्रेम निवेदन गर्छ, न्युता ऊप्रति कठोर उपेक्षा र घृणा प्रकट गर्छे । उता भालोद्याकी आमा भने सधैँ ऋण काटेर जुवातासमा डुबिरहन्छे । तनावको पल्लो फालमा पुगेर भालोद्या आफ्नै मुखमा पेस्तोल दाग्छ । ‘केटाहरू’ शीर्षक कथामा भने लेन्तिलोभ र भालोद्या नामका दुई किशोर अमेरिका जान भनेर घरबाट भाग्छन् । एक रातको हन्डर खाएर दुवै जना फर्कन्छन् ।
चेखबले १९ औँ शताब्दीको जारकालीन रुसी समाजमा मान्छे नगनिएका, कसैको नजरमा नपरेका मान्छेहरूको विषाद, खिन्नता, असफलता, आशा र निराशालाई कथामा प्रेमपूर्वक सम्बोधन गरे । अनि ठालूहरूको क्रूरता र पाखण्डलाई छताछुल्ल पारिदिए । उनलाई प्रेम गर्ने अनगिन्ती युवती थिए । आफैं चिकित्सक भए पनि आजीवन शारीरिक रूपले रोगी चेखबसँग लाइका मिजोनोवाले, लिदिया एबिलोव र ओल्गा निप्परले मनप्राणै तप्काएर प्रेम गरे । चेखबका कथामा यिनै नारी अनेक अवतारमा बारम्बार आइरहन्छन् ।

भान्या मामाको नियति
जम्मा ४४ वर्ष बाँचेका चेखबले छ सय कथा र केही नाटक लेखे । तीमध्ये ५० कथा र चार नाटक विश्वप्रसिद्ध छन् । नाटकमध्ये ‘भान्या मामा’ मलाई सबैभन्दा विशेष लाग्छ । संसारका सारा परिश्रमीहरूका सपनाको हत्या कसरी भइरहेको छ ? नाटकले यसको चित्तबुझ्दो जवाफ दिन्छ ।
भान्या मामा र सोन्या भान्जी । नाटकका यी दुई परिश्रमी जीवको सौन्दर्य बिनाअर्थ नष्ट भइरहेको हुन्छ । उनीहरू प्राध्यापक सेरेब्राकोभ (सोन्याको बाबु) को सेवामा जीवनभरि परिश्रम गर्छन् । सोन्याकी आमाको मृत्यु भइसकेको हुन्छ । गाउँमा खेतीपातीमा कडा परिश्रम गरेर उनीहरू सहरमा प्राध्यापकलाई खर्च पठाउँछन् । जमिन सोन्याकी आमाको हुन्छ । आफूले कुनै अंश नलिई भान्याले पूरै जग्गा दिदीलाई छाडिदिएको थियो । जमिनको ऋण उतार्न उनीहरू जिउज्यान लगाएर काम गर्छन् । आफूलाई जति दुःख भए पनि मानसिक रूपले उनीहरू खुसी हुन्छन् किनभने त्यस्ता व्यक्तिलाई उनीहरूले आफ्नो परिश्रमको फल पठाएका थिए, जो विश्वविद्यालयमा विज्ञान पढाउँथ्यो, अन्वेषण गरेर, किताब लेखेर समाजमा उज्यालो छर्थ्यो । सोन्या रातरातभरि नसुती पुस्तक सारेर बाबुलाई नोट पठाइदिन्छे । उनीहरूको विश्वास त्यतिखेर खण्डित हुन्छ, जब त्यो वृद्ध २७ वर्षीया कोरली येलेना आन्द्रेयेब्नालाई काखी च्यापेर घर फर्कन्छ । प्राध्यापक त्यो जमिन बेचेर मस्को फर्कन चाहन्छ । आफूले रगत, पसिना बहाएको जमिन खोसिने भएपछि भान्या मामासँग एक मात्र विकल्प बाँकी रहन्छ– विद्रोह ।
चेखबको यो नाटक म्याक्सिम गोर्की पनि खुबै रुचाउँथे । ‘म भावुक मान्छे होइन, तपाईंलाई थाहै छ,’ चेखबलाई उनले पत्रमा लेखेका थिए, ‘तर, यो नाटक हेरेपछि एउटी आइमाईजस्तै म क्वाँक्वाँ रोएँ ।’ मस्कोमा यसको ४१ औँ प्रदर्शनपछि गोर्कीले फेरि लेखेका थिए, ‘सारा दर्शक डाँको छाडेर रोए, कलाकारहरू पनि रोए ।’

अन्त्यमा
कतिपय समालोचक चेखबलाई मौलिक दर्शन नभएका लेखक भनेर आरोप लगाउँछन् । तर, उनका कथा र नाटकले त्यसको स्पष्ट खण्डन गर्छन् । ‘द हाउस विथ मेजानाइन’ मा अनुदार स्वभावकी लिदियासँग चित्रकारले गरेको सानदार बहसले मानव मुक्तिबारे उनको प्रस्ट विचार झल्किन्छ । चित्रकार भन्छ, ‘श्रमको उचित बाँडफाँट भएपछि मात्र मान्छे आफ्नो जीवनको आनन्दबारे सोच्न समर्थ हुन्छ । त्यसपछि नै हामी रोगको उपचार होइन, नियन्त्रण गर्न सक्छौँ । बाँकी समय विज्ञान र कलाको समृद्धिमा लगाउन सक्छौँ ।’

कोसेली

आर्किटेक्चर र शक्तिको नेपाली कथा

कवि आइराले ‘सिंहदरबारमा लागेको आगो’ कवितामा लेखेका थिए– ‘गाँजा प्रयोग गर्न पाउने लाइसेन्स/खारेज गर्ने घोषणा हुनुभन्दा/एक हप्ताअघि नै लागेको/यो आगो/शिवजीले पठाएको दण्ड हो ।’
- अभि सुवेदी

नेपालको राजनीतिक इतिहासमा शासक र तिनका शक्ति संघर्ष, तिक्डम, हैकम, जित, पराजय अनि आन्दोलनका कथा पढ्न पाइन्छ । यो सबैतिरका इतिहासको चरित्र हो । तर, नेपालमा भवन निर्माण अथवा आर्किटेक्चर र शक्ति अनि शासनको विषयमा खासै केही लेखिँदैन । त्यो एउटा निकै ठूलो कुरा छुटेको हो भनेर मान्नुपर्छ । हुन त यो विषय सूक्ष्म छ अनि सोझै भन्न नसकिने किसिमको छ । त्यसैले नलेखिएको हो । नेपालमा खासगरी काठमाडौं उपत्यकामा ठूला दरबारजस्ता भवन बनाउने मनोग्रन्थि र शासनको सम्बन्ध छ । राणा शासनबाट यस विषयमा पस्न सकिन्छ । छलफलपछि काठमाडौंका मेयरलाई छोटो पत्र लेखिएको छ ।
ठूला घर वा महल बनाउनेका शासन र शक्तिसँग जोडिएका मनोग्रन्थि हुनेरहेछन् । राणाहरूले दरबारहरू बनाए अनि तिनलाई शासन, सम्पत्ति र शक्तिसँग जोडे । त्यो कुरा नेपाली शासकहरूको लगभग मनोग्रन्थि नै बनेको छ । राजधानीमा जुन व्यवस्थाबाट आए पनि शक्तिमा बस्नेहरूले गतिला महल बनाउने र त्यसैका धन्दा गर्ने मनोग्रन्थिलाई आफ्नो चरित्र बनाएका उदाहरण छ्याप्छ्याप्ती भेटिन सक्छन् । अझ गतिला महल र शक्तिको बीचमा सम्बन्ध बनाउने तिनका चरित्र राणाकालीन आर्किटेक्चर र शक्तिसँग मेल खान्छन् । भवन बनाउने अनि ती भवनलाई शक्तिका केन्द्र बनाउने शासकहरू दलका नायक हुनु स्वाभाविक भएको देख्न सकिन्छ । तिनका त्यस्ता भवनमोहलाई बुझेर अरू त्यसबाट फाइदा लिनेहरूले पनि भवन बनाइदिन सक्छन् । तर, मुख्य कुरा नेपाली इतिहासमा आर्किटेक्चर र शक्तिको सम्बन्ध निकै ध्यान दिन लायकको छ । यो मनोग्रन्थिले राजनीतिलाई पनि प्रभाव पारेको देख्न सकिन्छ ।
अलिकता सूक्ष्म अध्ययनको विषय हो यो । भवनलाई कसरी शक्तिसँग जोडिन्छ, त्यसको उपासना कसरी गरिन्छ अनि त्यसबाट पैसाको खेल कसरी हुन्छ भन्ने मुख्य विषय हो । यी माथि भनिएका कुराबाहेक उन्नाईस सय नब्बे साल र दुई हजार बहत्तर सालका भैंचालासँग आर्किटेक्चर र शक्तिका कथा अनौठोसँग जोडिएका छन् । कस्ता महल बनिए र कस्ता महलका संरक्षण गरिए अनि कसरी गरिए, तिनको पछाडिका राजनीति के थिए भन्ने छलफलमा आएकै विषय हुन् । राणा कालपछिका प्रजातान्त्रिक र पञ्चायती युगमा शासकहरूले भवनलाई कसरी लिए भन्ने विषयमा त्यति छलफल हुँदैनन् । पञ्चायतकालमा भवन र शक्तिको सम्बन्ध बुझाउने एउटा भवन नारायणहिटी राजदरबार हो । राणा महलहरूभन्दा भिन्न ‘गोरखा शैली’ को त्यो दरबारसँग शक्तिका कथा जोडिएका थिए ।
राजा महेन्द्रले यो दरबार बनाइसकेपछि अमुक रकम लिएर राज्यलाई त्यो बेचिदिएका कथा पनि बाहिर आए । तर, अहिले आएर यो दरबार हेर्दा यसमा राणा ब्यारोकले प्रयोग गरेको स्पेसको ढाँचा र बाहिर देखाउने हैकमको चरित्र फरक देखियो । राणाहरूका भवनहरूले पछिसम्म कार्यालय र अरू प्रशासनिक अनि ब्याङ्कको प्रयोजनलाई काम दिए, जुन नारायणहिटी दरबारले दिन सक्दैनथ्यो । जुलाई ९, १९७३ मा सिंहदरबारमा आगो लाग्यो । आइरा कोहेन नामक अमेरिकी हिप्पी कविका यी तलका अनौठा हरफमा र गन्धर्वहरूका केही गीतमा बाहेक त्यो विशाल राणा शासनको शक्तिको भवनमाथि लेखिएका र गाइएका कविता, गीत र पढ्नलायकका न्यारेटिभ मैले अरू खासै केही भेटिनँ । ‘सिंहदरबारमा लागेको आगो’ शीर्षक कवितामा आइराले यस्ता हरफ लेखे : ‘गाँजा प्रयोग गर्न पाउने लाइसेन्स/खारेज गर्ने घोषणा हुनुभन्दा/एक हप्ताअघि नै लागेको/यो आगो/शिवजीले पठाएको दण्ड हो ।’ तल केही आफ्ना संस्मरणतिर फर्किन्छु ।
पहिले विद्यार्थी भएर काठमाडौं आउनुअघि मैले मनमा यहाँका दरबारहरू र महल हेर्ने चाहना साँचेर राखेको थिएँ । यहाँ आएपछि ती महलहरू खोजीखोजी हेर्ने काममा लागें । ती राणाकालीन दरबार र महल थिए । तिनको विषयमा साधारण जानकारी मात्र लिएको थिएँ । सिंहदरबारदेखि अरू प्रायः सबै राणाकालीन महल र तिनले ओगटेका भूमि, बरबगैंचा भेटेसम्म हेरें । भानुभक्त आचार्यले बयान गरेको कान्तिपुरी त्यो थिएन । उनको काल्पनिकीमा उल्लेख भएका सहरहरू उनले पनि देखेका थिएनन् । अहिलेको नारायणहिटी दरबारको साँध अहिलेको बारसम्मै थियो । त्यहाँ बाटो छेउबाट देखिने पानीका टनेलहरू राणा दरबार परिवेशका विलासितापूर्ण जलसयर गर्ने ठाउँ थिए भनेर मलाई एक कविले भने । यी सबै थलोहरू शक्तिशालीका शासन गर्ने आर्किटेक्चर वा भवनकला थिए । पछि बुझ्दा तिनको शैली युरोपेली नवब्यारोक वा एसियाली ब्यारोक रहेछ । भारतीय उपमहाद्वीपमा अंग्रेजको लामो शासनकालमा यो शैलीमा महलहरू बनिए । अंग्रेजले छोडेर हिँड्दा त्यस्ता महलहरू अनेकौं किसिमले प्रयोग भए ।
नेपालमा अंग्रेजको शासन नभएकाले नेपाली राणावंशका शासकहरूले नेपाली जनताकै धन प्रयोग गरेर ती ब्यारोक शैलीका भवनहरू बनाए । ती ठूला खेत र फाँट ओगटेर बनाइएका थिए । यहाँको भूमिको कुरालाई डा. बाबुराम भट्टराईको विद्यावारिधि शोध हेर्नुपर्छ । ती सर्वसाधारण जनताबाट अलग हुने, शक्तिका अनौठा र किञ्चित् विकृत मनोग्रन्थिका रचना थिए ।
तर, त्यो बेला मलाई एउटा ठूलो संजोग पर्‍यो । आईएको एउटा अकिञ्चन विद्यार्थी मेरो सम्पर्क भने आफूलाई मन परेका केही साहित्यकारहरूसँग भयो । तिनमध्ये सिद्धिचरण श्रेष्ठ उर्फ काजी दाइ र कवि नाटककार बालकृष्ण सम थिए । बालकृष्ण समको घरमा यसै सोध्दै खोज्दै पुगें । एउटा फुच्चे विद्यार्थीसँग पनि समले लामो कुरा गरे ।
यो भेटघाटको विषयमा एउटा लेखसमेत लेख्न भ्याएँ । भवानी घिमिरेका दाजु कमलप्रसाद घिमिरेको साहित्यिक पत्रिका ‘बिहान’ (अङ्क ५, २०२०) मा ‘समज्यूसँग एक बिहान’ शीर्षकमा त्यो छापियो । मेरो अर्को संजोग आर्किटेक्चर विषयकै थियो । त्यो संजोगले मेरो आजपर्यन्त काठमाडौको आर्किटेक्चर, शक्ति, जनता र शासन विषयमा दृष्टिकोण बनिएको छ । कवि सिद्धिचरण श्रेष्ठसँग चिनजान भएपछि एक दिन उनकोमा जाँदा कविले भने, ‘भाइ, मसँग भक्तपुर आउनोस् । त्यहाँ एउटा नेवार भाषाको कविको गोष्ठी हुँदै छ । एउटा बस जान्छ ।’
त्यो मेरो पहिलो र रोमाञ्चक यात्रा थियो । कविले मलाई भक्तपुर दरबारको अन्तपुरदेखि बाहिरको नेवार आर्किटेक्चरको घुमाई घुमाई वर्णन गरिदिए । भक्तपुर दरबारभित्र पस्ने एउटा ढोकामाथि पृथ्वीनारायण शाहका सिपाहीले हानेका गोलीका खोपिल्टा देखाए, कविले । मैले महल र शक्तिबीचको एउटा आन्दोलित इतिहासको सानो झल्का थाहा पाएँ त्यो दिन । त्यो भ्रमणले मेरा केवल राणाका महल र हैकमका कथाभन्दा भिन्न मानवजनिन आर्किटेक्चरबारे आँखा खोलिदियो । लामा प्राज्ञिक लेखहरू लेखिसकें । विद्यार्थीहरूलाई शोधहरू पनि गराइसकें । पछि ‘आरुका फूलका सपना’ (२०५८) नाटक लेखें ।
अन्त्यमा थोरैमा केही कुराहरू लेखिहाल्छु । जुनसुकै शैलीका भए पनि अनि जस्ता इतिहासबाट आएका भए पनि नेपाल उपत्यकाका भवन र परिवेशहरूको रक्षा गर्ने जिम्मा कसैको भएन । राणाहरूको स्वामित्वबाट गएपछि भवन र वृक्षहरूको संरक्षण भएन । राज्यले तिनको प्रयोग गर्‍यो, तर बिजोग बनाएर छोडिदियो । तिनलाई भूकम्पपछि रेट्रोफिटिङ गरेर बचाइएन ।
बालुवाटारमा भूमि लुछीकरण भएदेखिका कथा छन् । वृक्षहरू काटिदिएका कथा छन् । सबै राणा दरबारमा सय वर्ष नाघेका वृक्षहरू काटिए । अब काठमाडौंमा यस्ता भवन र परिवेशको रक्षा राज्यले वा सरकारले गर्दैन, पक्का छ । त्यसैले मेयर बालेन शाहको काँधमाथि यो आएको छ । उपमेयर सुनीता डङ्गोलको दायित्वमा परेको छ । एकाध हरफमा बालेनलाई एउटा खुलापत्र लेख्छु–
यो महान् संरक्षणको काम काठमाडौंका मेयरको दायित्वभित्र पर्छ । मेरो सल्लाह छ, पहिला तुरुन्तै त्रिचन्द्र कलेजको संरक्षणबाट सुरु गरिहाल्नोस् । यो प्रधानमन्त्री वा अरू ठूला मान्छे पढेको कलेज, बनाइहाल्छन् नि भन्ने भ्रम नराख्नुहोस् । आधी शताब्दीभन्दा बढी पढाएको शिक्षक र एक लेखकको आह्वान हो यो । तपाईंको प्रतिक्रिया सुन्न मात्र होइन, काम हेर्न पर्खेको छु । छिट्टै एकपटक त्यहाँ जानुहोस् । मैले भनेको कुरा त्रिचन्द्रले मुख खोलेर, घडीको नाद उचालेर तपाईंलाई भन्नेछ । त्यो बोली रानीपोखरीका तरङ्गमा दौडिनेछ । शुभकानासहित ।

Page 12
कोसेली

अनुवाद बर्बाद किन नहोस् !

- वसन्त थापा

'हिमाल' मासिक पत्रिकामा एउटा आवरण–कथा आएको थियो गत साल कात्तिकको अंकमा । त्यसको शीर्षक थियो– ‘सौम्य शक्ति’ । त्यसै शीर्षकलाई केन्द्रमा राखेर लेखिएका थिए त्यसमा प्रकाशित प्रायः आलेखहरू । यसअघि नदेखिएको, नेपाली शब्दकोशमा प्रविष्टि नभएको र अचानकझैं देखा परेको पारिभाषिकजस्तो देखिने यस नौलो शब्दावलीको अर्थ के हो ? केहीबेर यसै अन्योलमा पत्रिकाका पानाहरू अगाडि–पछाडि पल्टाउँदै जाँदा फ्याट्ट बल्यो दिमागी ट्युबलाइट र बोध भयो, ‘ए, अंग्रेजीको ‘सफ्ट पावर’ पो भन्न खोजिएको रहेछ ।’
तर, त्यस ज्ञानबोधका साथसाथै अर्को पूरक प्रश्न पनि उब्जियो मनमा– के ‘सौम्य शक्ति’ ले अंग्रेजी ‘सफ्ट पावर’ को सही अर्थ बोध गराउँछ ? के यो अनुवाद उपयुक्त छ ?
नरम, कोमल, मुलायम, नाजुक भन्ने बुझाउँछ अंग्रेजीको ‘सफ्ट’ शब्दले । तिनको पर्यायमा सौम्य शब्द पनि नपर्ने होइन । तर, ‘सफ्ट’ जोडिएर बनेका अंग्रेजीका अन्य संयुक्त शब्द पनि छन्, जस्तै ः ‘सफ्ट वाटर’, ‘सफ्ट भ्वायस’, ‘सफ्ट वेयर’, ‘सफ्ट कपी’, ‘सफ्ट सोयल’ आदि । अब ‘सौम्य शक्ति’ कै सिद्धान्त अनुसरण गरेर तिनलाई नेपाली स्वरूप दिने हो भने भन्नुपर्ने हुन्छ ः सौम्य जल, सौम्य आवाज, सौम्य माटो, सौम्य प्रतिलिपि, सौम्य असबाब आदि । यसैअनुरूप चल्ने हो भने अंग्रेजीको ‘सफ्ट सोप’ को अनुवाद त कस्तो पो होला Û
चलनचल्तीमा बरोबर आइरहने अंग्रेजी शब्दलाई नेपाली स्वरूप दिने ‘हिमाल’ पत्रिकाको सम्पादकीय टोलीको सत्प्रयासलाई मान्दामान्दै पनि ‘सौम्य शक्ति’ ले मूल शब्दको अर्थ वहन गर्न नसकेको र यो एकांगी तथा अपूर्ण छ भन्नैपर्छ ।
‘हिमाल’ पत्रिकामा सौम्य शक्ति भनेर छापिएको केही पछि स्तम्भकार सीके लालले ‘कान्तिपुर’ दैनिकको आफ्नो लेखमा अंग्रेजीको त्यसै शब्दलाई बुझाउन ‘नम्र शक्ति’ भनेर लेखे । त्यसमा पनि चित्त नबुझेर यस पंक्तिकारले मोबाइल फोनमा उनलाई सन्देश पठायो ः ‘नम्र’ नभनी ‘नरम’ भन्नु पो राम्रो होला कि’ भनेर । उनले पंक्तिकारको सुझाव सही हो भन्दै पुनर्विचार गर्ने बताए । यो थियो २ तारिख डिसेम्बर २०२१ को कुरा ।
अनुवाद गर्दा शब्दको अन्यान्य प्रयोग कस्तो हुन सक्छ त्यसबारे पनि विचार पुर्‍याउनुपर्ने हुन्छ । अनि मूल भाषाको शब्दलाई जस्ताको तस्तै ठाडो र शाब्दिक अनुवाद गर्ने प्रयास नगरी त्यसमा अन्तरनिहित लाक्षणिक अर्थ र भावलाई समात्ने उपाय व्यावहारिक हुन्छ । ‘सफ्ट पावर’ विपर्याय हो ‘हार्ड पावर’ को । हार्ड पावरलाई ‘कडा शक्ति’ वा ‘कठोर शक्ति’ भनेर ठाडो गरी नसमातेर त्यसलाई ‘यान्त्रिक शक्ति’ भनेर बुझ्ने हो भने त्यसको विपर्याय ‘मानव शक्ति’ हुन जान्छ । अझ यसको विस्तारित अर्थ मानव सृजनाशक्ति भनेर बुझ्न सकिन्छ । अरूसित कम्प्युटर, सुपर कम्प्युटर, रकेट आदिको निर्माण गर्ने यान्त्रिक शक्ति छ भने हामीसित केही नयाँ रचना गर्ने, सृजना गर्ने मानवोचित प्रतिभाको शक्ति छ, जस्तो साहित्य, संगीत, कला इत्यादि सृजना गर्ने शक्ति । सफ्ट पावरको निहितार्थ त्यही हो । अब ‘सौम्य शक्ति’ ले मूल शब्दको मर्म र अर्थलाई कुन हदसम्म समात्न सक्यो वा सकेन त्यो आफैँंमा छलफलको विषय हुन सक्छ ।
‘हिमाल’ समूहकै सम्पादकीय ज्यासलबाट निसृत र त्यही वृत्तबाट बहुधा अभ्यास गरिने अर्को एउटा शब्दको उल्लेख गर्नु पनि यहाँ सान्दर्भिक होला । त्यो शब्द हो – लोकरिझ्याइँ । यो अंग्रेजी शब्द ‘पपुलिज्म’ लाई बुझाउन उपयोग गरिएको नेपाली शब्द हो । अचेलभरि विश्व राजनीतिमा जताततै ‘पपुलिज्म’ को लहर चलेको छ र ‘पपुलिस्ट’ हरू नै शासनसत्तामा पुगिरहेका छन् । त्यही भएर ‘पपुलिज्म’ को नेपाली समानार्थी शब्द खोज्ने क्रममा देखा पर्न गएको हो– लोकरिझ्याइँ । यो आफैंमा त्यति खराब रूपान्तरण देखिँदैन, तर समस्या कहाँ पर्न जान्छ भने लोकरिझ्याइँ गर्ने ‘पपुलिस्ट’ लाई चाहिँ के भन्ने ? यी दुवै अंग्रेजी शब्दका लागि सीके लाल भने ‘लोकरञ्जन’ वा ‘जनरञ्जन’ र ‘लोकरञ्जक’ वा ‘जनरञ्जक’ शब्द चलाउँछन् । आकाश–पाताल एक गरेर जनतालाई खुसी पार्ने, फुल्याउने, उचाल्ने, मख्ख पार्ने, सपना देखाउने काम ‘पपुलिज्म’ हो भने त्यस्तो काम गर्ने राजनीतिक नेता ‘पपुलिस्ट’ हो । अर्थात् दुवै खाले संज्ञालाई बरु सीके लालको अनुवादले समात्न सकेको देखिन्छ यसरी हेर्दा । यद्यपि यी शब्दावली हिन्दीमा पहिलेबाटै प्रयुक्त हुँदै आएका हुन् ।
पत्रपत्रिकामा नेपाली भाषामा लेखरचना छपाउने प्रायः सबैजसो विद्वान् आफूले लेखेका कुरामा जोड दिन वा त्यसलाई प्रस्ट्याउन नेपाली रूपान्तरणका साथै त्यसको अंग्रेजी मूल शब्दलाई देवनागरीमा कोष्ठकभित्र पनि दिने गर्छन् । तिनमा सीके लाल एक्ला छैनन् । प्रा. कृष्ण खनाल, प्रमोद मिश्र, कनकमणि दीक्षित, उत्तमबाबु श्रेष्ठ, अच्युत वाग्ले, राजेन्द्र महर्जन प्रभृत्ति धेरै जना पर्छन् । व्यावसायिक अभ्यासका कारण अंग्रेजीमा बढी हात चल्ने भएकाले सम्भवतः उनीहरू त्यसो गर्छन् । या हुन सक्छ, अंग्रेजीमा सोचेर नेपालीमा लेख्ने गर्छन् उनीहरू । त्यसले गर्दा उनीहरूलाई नेपाली समानार्थी शब्द खोज्नुपर्ने हुन्छ र करबलले अनुवाद गर्न पुग्छन्, तर आफूले सुझाएको नेपाली रूपान्तरणप्रति आफैं पक्कापक्की नभएकाले कोष्ठकमा अंग्रेजी शब्द पनि खुलाउने दुःख गर्छन् ।
प्राध्यापक दुर्गाप्रसाद भण्डारी थिए, अंग्रेजी भाषा साहित्यका पोख्त विद्वान् र नेपाली भाषाका उत्तिकै सिद्धहस्त लेखक । उनका प्रबन्धहरूको सँगालो ‘मृगस्थली’ शीर्षक पुस्तकमा संगृहीत रचनाहरूमा धेरै अंग्रेजी शब्दहरूको रोचक नेपाली अनुवाद पाइन्छन् । ‘प्लेटोनिक लभ’ लाई ‘अशरिरी प्रेम’, ‘की होल’ लाई ‘कुञ्जी छिद्र’, ‘नोस्टाल्जिया’ लाई ‘स्मृतिरमण’ भनेर प्रा. भण्डारीद्वारा अनुवाद गरिएका शब्दहरू यस पंक्तिकारको स्मृतिपटलमा नमेटिनेगरी अंकित छन् ।
तर, सबै लेखकले गरेका शब्दानुवादलाई आँखा चिम्लेर स्वीकार गरिहाल्न भने सकिन्न । ती सही नहुन सक्छन् वा तिनले मूल शब्दको अर्थ स्पष्ट रूपले वहन गर्न नसकेको हुन सक्छ । वास्तवमा कोष्ठकभित्र अंग्रेजी मूल शब्द राखिएबाट नै अनुवादको अपूर्णता प्रकट हुन्छ । प्रयुक्त नेपाली शब्दबाटै पाठकले अर्थबोध गर्न सक्नुपर्छ । तब मात्रै पाउँछ
अनुवादले पूर्णता ।
त्यसै हुनाले त्यस्ता शब्दानुवाद तत्तत् लेखकको निजी सृजना र पेवाझैं बन्न गएका छन् । एउटाले गरेको अनुवाद अर्कोले टिपेर चलाएको पाइँदैन । कतिपय शब्दानुवाद सही नै भए पनि तिनले आम मान्यता पाएर प्रचलनमा आएको देखिँदैन । तर, फेरि अर्कातिर अमुक स्रोतबाट निसृत शब्दानुवादहरू छ्यासछ्यास्ती पाइन्छन् र केही कारणले तिनको प्रचलन व्यापक भएको देखिन्छ गलत र नमिल्दा नै भए पनि । अहिलेलाई यसका दुईवटा उदाहरण अघि सार्न सकिन्छ– ‘जवाफदेहिता’ र ‘बालमैत्री’ वा मैत्रीको पुच्छर जोडेर बनाइएका पाठकमैत्री वा वातावरणमैत्री आदि शब्दहरू ।
अंग्रेजी भाषाको तालमा हिँड्ने रहरबाट प्रेरित सम्भवतः कुनै अंग्रेजीबाज विकासे बुद्धिजीवीका अधकल्चा दिमागका उपज हुन् व्याकरणीय सिद्धान्तविपरीत बनेका यी शब्दहरू । विकासेहरूको कार्यशैली नै शब्दजाल बुनेर कुनै कुरालाई चिटिक्क गरी प्रस्तुत गर्ने हुन्छ । जस्तो उनीहरूले लेख्ने दस्तावेजमा ‘गरिब’ र ‘गरिबी’ भन्ने शब्दावली भरिसक्के पर्दैन । तिनका ठाउँमा ‘विपन्न’ र ‘विपन्नता’ शब्दावली उपयोग गर्छन् । त्यो पढ्ने गरिब पनि ‘हामी गरिब होइन विपन्न पो रहेछौं’ भनेर मख्ख पर्छ । यो ‘जवाफदेहिता’ भन्ने कुरूप शब्द पनि त्यही बाटो भएर भित्रिएको हो नेपाली शब्द संसारमा । अंग्रेजीको ‘एकाउन्टेबिलिटी’ शब्दको बलात् गरिएको नेपालीकरण हो यो । वास्तवमा अंग्रेजीको ‘एकाउन्टेबिलिटी’, ‘रेस्पोन्सिबिलिटी’, ‘एन्सरेबिलिटी’ आदि शब्दको तात्त्विक अर्थ एउटै हो — जिम्मेवारी । ‘यस घटनाको जिम्मेवारी कसको हो’ वा ‘यस घटनाको जवाफदेही कसको हो’ वा ‘यस घटनाको उत्तरदायित्व कसको हो’ भन्ने वाक्यको अर्थ एउटै लाग्छ । तर, हामीले बुझ्यौं, कसैलाई समात्न पर्‍यो भने उसलाई ‘एन्सरेबल’, ‘रेस्पोन्सेबल’ होइन ‘एकाउन्टेबल’ पो बनाउनुपर्छ भनेर । त्यसैले ‘एकाउन्टेबिलिटी’ भन्ने शब्दलाई के–के न पाएझैं गरी समात्यौं र सुझी न बुझी भन्न थाल्यौं ‘जवाफदेहिता’ । यसो गर्दा हामीले जवाफदेही आफैंमा काफी छ र त्यसले ‘एकाउन्टेबिलिटी’ को अर्थ वहन गर्छ भन्ने बुझेनौं । अनि अरबी/फारसी मूलको यस शब्दमा असुहाउँदो गरी ‘ता’ वर्णको फुँदा हाल्ने हाँसउठ्दो काम गर्‍यौं — दौरा सुरुवालमाथि टाई भिरेजसरी । अब कसरी बुझाउने ती अंग्रेजीबाजहरूलाई– भन्नै छ भने जवाफदेही भन्नोस् त्यसमा अनावश्यक ‘ता’ प्रत्यय थपेर जवाफदेहिता नभन्नोस्, त्यो अशुद्ध हो भनेर ?
अब पछिल्तिर ‘मैत्री’ जोडिएको शब्दको चर्चा गरौं, जस्तै ‘बालमैत्री’ । अंग्रेजीको ‘चाएल्ड फ्रेन्डली’ लाई जान्नेसुन्ने भनाउँदाहरूले दिएको नेपाली रूप हो यो । ‘फ्रेन्डली’ जोडिएका अरू पनि अंग्रेजी शब्द प्रचलित छन्— रिडर फ्रेन्डली, इन्भाइरन्मेन्ट फ्रेन्डली आदि । सबैले बुझेकै कुरा हो– मैत्री भनेको मित्रता हो, मितेरी हो, दोस्ती हो, जसलाई बुझाउने अंग्रेजी शब्द हो ‘फ्रेन्डसीप’ । ‘फ्रेन्डली’ को अर्थ त मित्रवत्, मित्रतापूर्ण भन्ने लाग्छ । अंग्रेजीमा ‘ही इज फ्रेन्डली’ भन्दा त्यसको अर्थ ‘ऊ मिलनसार वा फरासिलो छ’ भन्ने अर्थ लाग्छ । त्यसैले ‘फ्रेन्डली’ लाई जसरी मैत्री भनेर प्रयोग गरिएको छ त्यो गलत छ । त्यसको सट्टा बरु ‘अनुकूल, सुहाउँदो, हितैषी, हितकारी, उपयोगी, उपकारी’ जस्ता शब्द उपयोग गरेर वातावरणसुहाउँदो, वातावरणअनुकूल, बालोहितकारी, जनहितैषी आदि सद्दे शब्दको निर्माण गर्न सकिन्थ्यो । तर, यिनै बिसद्दे शब्दहरूको प्रचलन रोक्नै नसकिने गरी व्यापक बन्न गएको छ ‘बाइरोडको बाटो’ जस्तै । बरु ‘बाइरोडको बाटो’ लाई एक हिसाबले ठीक हो भन्न सकिएला, किनभने यसको सृजना जनबोलीबाट भएको हो । तर, मैत्री जोडिएका माथि उल्लिखित शब्दहरूलाई स्विकार्नु गाह्रो छ, किनभने यिनको निर्माण अधकल्चा बुज्रुकहरूको अल्पज्ञानका कारण भएको हो । अर्को कुरा, कथ्य रूप मात्र छ बाइरोडको बाटाको, लेख्य छैन । तर, जवाफदेहिता र बालमैत्री जस्ता शब्दहरूको लेख्य रूप भाषालाई बिटुल्याउँदै निर्बाध अघि बढिरेहको छ, जो भाषाको संवर्द्धन चाहनेहरूका लागि चिन्ताको विषय हो । यस्ता अरू पनि बग्रेल्ती छन् बेढंगका शब्दानुवाद । यी त केवल नमुना हुन् ।
के ठीक हो के बेठीक हो र अनुवादमा केलाई मानक मान्ने त्यो भनिदिने कुनै निकाय वा आधिकारिक संस्था हामीकहाँ भइदिएन । अनुवाद त्रुटिपूर्ण भएमा त्यो औंल्याइदिने कोही भएन । बरु राणाकालमा नेपाली भाषा प्रकाशिनी समितिअन्तर्गतको नेपाली भाषानुवाद परिषद्ले अनुवादको कार्यलाई नियन्त्रण र नियमन गर्ने चलन रहेको थाहा हुन्छ जनकलाल शर्माको संस्मरणात्मक लेखबाट । उनको एउटा लेखमा उल्लेख भएअनुसार, व्यक्ति र पसलको नामपाटीसमेत भाषानुवाद परिषद्को स्वीकृतिबेगर जथाभावी राख्न पाइन्नथ्यो उसबेला । कलकत्तामा पढेर ‘डेन्टल सर्जन’ बनेका व्यक्तिले सोही नाउँको सूचनापाटी राखिपाउन गरेको निवेदनमा निजलाई ‘दन्तचिकित्सक’ र एउटा हजाम पसलको नामपाटी ‘गणेश एन्ड ब्रदर्श’ राखिपाऊँ भनेर कसैले चढाएको अर्को निवेदनमा ‘गणेश र दाजुभाइ’ राख्नु भन्ने आदेश परिषद्ले दिएको प्रसंग उनले लेखेका छन् । सन् १९७० मा पहिलोचोटि काठमाडौं आउँदा यस पंक्तिकारले ‘फलाना केश कर्तन सदन’ भन्ने नामपाटी खिचापोखरीमा देखेको थियो । धरानमा ‘सेलुन’ भन्न र सुन्न अभ्यस्त यस पंक्तिकारका लागि नौलो कुरा थियो त्यो । त्यसैगरी ‘चमेनागृह’ पनि धरानमा रहँदा नसुनेको अर्को शब्द थियो । सम्भवतः उहिलेकै भाषानुवाद परिषद्को हैकमको रहलपहल प्रभाव थिए ती नामपाटी ।
विश्वका भाषाहरूमा वलिष्ठतम स्थानमा रहेको अंग्रेजी भाषासितको हाम्रो दैनन्दिन कारोबार बढिरहेको छ र यो बढी नै रहनेछ । यसमा किञ्चित् शंका छैन । विशाल भाषा भण्डारको धनी अंग्रेजी भाषाको शब्दकोशमा ४ लाखभन्दा बढी मूल शब्द समेटिएको मानिन्छ र प्रत्येक वर्ष घटीमा तीन हजार नयाँ शब्दले त्यसमा प्रविष्टि पाउँछन् भनिन्छ । त्यसको तुलनामा हाम्रो ‘नेपाली बृहत् शब्दकोश’ मा ६० हजार पनि शब्द छैनन् । अहिले बल्ल अनेक राष्ट्रिय भाषा र अन्य नानाविध स्रोतबाट तानतुन गरेर अर्को ९० हजार शब्द थप्ने काम भइरहेको बुझिएको छ । त्यो थपिए पनि हाम्रो शब्द भण्डारले अंग्रेजीसित कुम जोड्न सक्ने अवस्था त छँदै छैन । यस्तो अवस्थामा ‘ब्लाक’ भनेको ‘कालो’ भने जसरी हरेक अंग्रेजी शब्दको ठ्याक्क मिल्ने शब्द हामीसित नहुनु स्वाभाविक हो । त्यसो गर्न खोज्नु अंग्रेजीको हात्ती लम्काइ देखेर धुरी चढ्न खोज्नुजस्तो मात्र हुनेछ । त्यस्तो समृद्ध भाषाको शब्दशब्दको ठ्याक्कै मिल्ने नेपाली रूपान्तर पाउन सकिएन भनेर हतारिँदै जथाभावी अनुवाद गर्न जरुरी छैन । छैन वा भेटिएन भने अंग्रेजी मूलकै शब्द चलाउँदा पनि केही फरक पर्दैन । दक्षिण अमेरिकाको ‘पाम्पास’ लाई पाम्पास नै भनौं न किन घाँसे मैदान भनिरहनुपर्‍यो ? अफ्रिकी महादेशको चिनारी बनेको ‘बाओबाब’ वृक्षलाई त्यही नामबाटै पुकारौं न । परम्परागत रूसी जनजीवनको हिस्सा मानिएको ‘समोबार’ लाई बुझाउन किन अर्को शब्द खोजिराख्न पर्‍यो ? अनि धैर्यपूर्वक खोजीपसे अप्ठेरो ठानिएको अंग्रेजी शब्दको नेपाली रूपान्तर पनि फेला पर्न सक्छ । हत्त न पत्त ‘भोयरिज्म’ भनिहाल्न पर्दैन । खोजेमा ‘दर्शन रति’ वा ‘दृश्यसुख’ भनेर अरूले चलाएको मिल्ने शब्द पनि भेट्टाउन सकिन्छ । अंग्रेजीको ‘अल्टिमेटम’ नेपालीमा ‘अन्तिमेत्थम्’ हुन सक्छ भनेर हामीमध्ये कतिले हेक्का राखेका छौं ? यो त ‘बृहत् नेपाली शब्दकोश’ मा उल्लेख भएकै शब्द हो । हाम्रो भाषा भण्डार अपेक्षाकृत सानै भए पनि हामीसँग पनि यस्ता शब्दहरू छन्, जसको सही अर्थ दिने शब्दहरू अंग्रेजीमा पनि पाइँदैनन् । एकल शब्दमा हामी कमजोर नै छौं, तर दुई–चार शब्द बढी खर्चेर व्याख्या गरी त्यस समस्याको निराकरण खोज्न सकिन्छ । तसर्थ मिहिनेतसाथ खोजेमा भेटिन सक्छ, नभए नयाँ शब्दको निर्माण गर्न पनि पछि हट्न हुँदैन । हो, मिहिनेत भने दुवै अवस्थामा उत्तिकै चाहिन्छ । हामीले परिशुद्ध पारिभाषिक शब्द खोज्न, केलाउन परेमा निर्माण गर्न र तिनको संग्रह गर्नलाई मिहिनेत गर्न बाँकी नै रहेको तथ्य भने एकदम सत्य हो ।
यस सन्दर्भमा भारतले केन्द्रीय स्तरमा गरेको प्रयास र अभ्यास हाम्रा लागि मननीय हुन सक्छ साथै अनुकरणीय पनि । हिन्दी भाषामा अन्तर्निहित कमीकमजोरीलाई महसुस गरेर जवाहरलाल नेहरू प्रधानमन्त्री छँदै सन् १९६१ मा भारतको केन्द्रीय सरकारले एउटा आयोग बनायो ‘वैज्ञानिक तथा तकनिकी शब्दावली आयोग’ नामको । त्यस आयोगको मुख्य काम थियो– अंग्रेजी भाषाका पारिभाषिक शब्दहरूलाई हिन्दीमा रूपान्तरण गर्ने । रसायनशास्त्र, भौतिकशास्त्र, जीवशास्त्र, वनस्पति, गणित आदि विज्ञानका यावत् हाँगाबिँगादेखि लिएर समाजशास्त्र, अर्थशास्त्र, मानवशास्त्र, राजनीति, दर्शन, भाषाशास्त्र, ललितकला र संगीत आदि समाजविज्ञानअन्तर्गतका विषयमा देशभरिका कहलिएका विद्वान्हरूलाई समावेश गरी आयोगले समितिहरू बनायो । संवैधानिक र कानुनी शब्दहरूको हिन्दी रूपान्तरणका लागि छुट्टै ‘विधि शब्दावली’ समिति पनि बनायो भारत सरकारले उसैबेला । सम्बन्धित समितिहरूले लोकव्यवहारमा रहेका रैथाने र प्रान्तीय भाषाहरूमा प्रचलित शब्दहरूको निरूपण गर्‍यो । नयाँ निर्माण गरिनुपर्ने शब्दहरूलाई संस्कृतका धातुहरूका आधारमा बनायो । यो एउटा बृहत् आयोजना थियो, समय त लाग्यो । तर, आयोगले ‘बृहत् पारिभाषिक शब्द संग्रह’ नाम दिएर सन् १९७३ मा मानविकी तथा सामाजिक विज्ञान शब्दावली दुई ठेलीमा र विशुद्ध विज्ञान विषयक शब्दावली अर्को दुई ठेलीमा प्रकाशित गरायो । ‘विधि शब्दावली संग्रह’ त त्यसअघि सन् १९७० मै प्रकाशित भइसकेको थियो । ती शब्दसंग्रहमा भेटिन्छ ‘कम्प्युटर’ शब्दलाई उसैबेला उनीहरूले हिन्दीमा ल्याएका थिए ‘अभिकलित्र’ भनेर । उनीहरूले यन्त्र कम्प्युटरलाई अभिकलित्र भने अनि व्यक्तिलाई अभिकलक । ‘कम्प्युटिङ’ कार्यलाई उनीहरूले अभिकलन भने । कालान्तरमा कम्प्युटर बुझाउनलाई उनीहरूले ‘संगणक’ भन्ने शब्द पनि चलाउन लागे । अभिकलित्र वा संगणक दुवै निर्माण गरिएका शब्द हुन्, जसको प्रचलन व्यवहारमा विरलै भेटिन्छ, त्यो अर्को कुरा हो । तर, उनीहरूले आवश्यक परे उपयुक्त अवसरमा उपयोग गर्ने सकिने आफ्नो भन्ने शब्द त निर्माण गरे, गाँठी कुरा त्यो हो ।
साथै ‘एकेडेमी’ लाई अकादमी, ‘टेक्निकल’ लाई तकनिकी, ‘क्लासिक’ लाई क्लासिकी, ‘कोडिफिकेसन’ लाई कोडीकरण, ‘कम्प्युटराइज्ड’ लाई कम्प्युटरीकृत भनेर हिन्दीकरण पनि भारतीयहरूले गरे । अलेक्जेन्डर हिन्दीमा सिकन्दर कहलिन्छ, प्लेटो अफलातुन र एरिस्टोटल अरस्तु । ग्रेगोरियन पात्रोका महिनाहरूलाई पनि हिन्दीकरण गरेर उनीहरू भन्छन् ः फरवरी, मई, अगस्त, सितम्बर, अक्टुबर, दिसम्बर । नेपालीमा भने कोही मे भन्छौं, कोही ‘मई दिवस’ मनाउँछौं । कोही अगस्ट भन्छौं, कोही अगस्त लेख्छौं । हामीले प्लेटो भन्ने कि अफलातुन ? अरस्तु भन्ने कि एरिस्टोटल ? अलेक्जेन्डर भन्ने कि सिकन्दर ? यो अन्योल कायम छ र हामी आफुखुसी तिनलाई चलाउँछौं मानकीकरणको वास्ता नगरी ।
हामीले अनुवादको सर्वप्रचलित, सर्वग्राह्य, सर्वस्वीकृत मानक स्थापित गर्न नसकेकाले यस्तो अन्योल रहन गएको हो । त्यस्तो मानक स्थापित गर्ने दिशातर्फ संगठित, व्यवस्थित र आधिकारिक पाइला हामीले कहिल्यै चालेनौं । सिद्धान्ततः यो काम गर्नुपर्ने हो प्रज्ञा–प्रतिष्ठानले, त्रिभुवन विश्वविद्यालयको नेपाली विभागले र शिक्षा मन्त्रालयले । सरकारको सरोकारवाला मन्त्रालयले पारिभाषिक शब्दहरूको संग्रह र निर्माणको प्रयोजनकै लागि निश्चित हदम्याद र जिम्मेवारी दिएर एउटा उच्चस्तरीय निकाय गठन गर्नुपर्ने हो । त्यस्तो निकायले नेपाली पारिभाषिक शब्दहरूको आधिकारिक र प्रामाणिक संग्रह निकाल्नुका साथै त्यसलाई अद्यावधिक पनि गरिराख्नुपर्ने हो, जसरी हाम्रो छिमेकीले उहिल्यै गरिसकेको छ ।
भारतीय लेखिका गीताञ्जली श्रीद्वारा लिखित हिन्दी उपन्यास ‘रेत समाधि’ को अंग्रेजी अनुवाद ‘टुम्ब अफ स्यान्ड’ इन्टरन्यासनल बुकर प्राइजबाट केही समयअघि पुरस्कृत भएबाट अनूदित कृतिलाई बेलायतमा कुन हदसम्म प्रोत्साहन दिने गरिन्छ, त्यो बुझ्न सकिन्छ । त्यो पुरस्कार विश्वका अन्य भाषाबाट अंग्रेजीमा अनुवाद गरेर बेलायतमा छापिएको पुस्तकलाई दिने गरिन्छ । अरू भाषाको राम्रो साहित्यलाई उत्कृष्ट अनुवाद गरेर ल्याई अंग्रेजी भाषाको ज्ञानभण्डार बढाएबापत दिइएको हो त्यो पुरस्कार । मूल कृतिको मौलिकता त यसै पनि बेजोड हुनैपर्‍यो, त्यसको अनुवाद पनि उत्तिकै उम्दा हुनुपर्‍यो । अनुवाद झुर भएमा मौलिक कृतिको रस पनि हराउँछ । त्यसैले त्यस पुरस्कारको राशिमा मूल लेखक र अनुवादक दुवैको बराबर भागीदारी हुन्छ । हामीकहाँ अनेकन् किताबहरूको अनुवाद गर्ने काम भइरहेकै छ, खास गरी अंग्रेजीबाट । तर, त्यस्ता अनूदित किताबहरूको अनुशीलन, परिशीलन गर्ने र तिनको गुणवत्ताको जाँचपरख गर्ने काम भने व्यवस्थित तवरमा हुन सकेको छैन । उत्कृष्ट ठहरिएको अनूदित कृतिलाई पुरस्कृत गर्ने काम त धेरै टाढाको कुरा भयो ।
आफ्नो भाषाको भण्डार भर्न र साहित्यको श्रीवृद्धिका लागि अरू भाषाका उत्कृष्ट कृतिहरूलाई अनुवाद गरेर नेपाली भाषामा ल्याउनु एकदम जरुरी छ, तर सही तरिका र सही ढंगले । त्यसका लागि अनुवाद कर्मलाई हरसम्भव तरिकाले प्रोत्साहित गरिनु आवश्यक छ । तर, स्वाङ्गे प्राज्ञ, झोले अध्यापक, खरिदिएको प्रमाणपत्र बोक्ने विद्वान् र मूढमतिका नेताहरूको बोलवाला भएको मौजुदा माहोलमा अनुवाद प्रवर्द्धन र भाषा संवर्द्धनबारे सोच्ने फुर्सद कसैलाई देखिन्न । न कुनै प्रोत्साहन, न कुनै मार्गदर्शन, न कुनै प्रशिक्षण ! भुइँफुट्टा तालमै चलिरहेको छ, हामीकहाँ अनुवाद कर्म । यस्तो अवस्थामा नेपाली अनुवाद बर्बाद किन नहोस् ?