You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

प्रत्यारोपणभन्दा डायलसिस महँगो

- प्रशान्त माली

(काठमाडौं) - दुवै मिर्गौलामा खराबी आएर ९ वर्षदेखि डायलसिस गराउँदै आएका रोल्पाका शिवशेष महराले गत भदौमा प्रत्यारोपण गराए । प्रत्यारोपण गराउँदा ५ लाख ५० हजार रुपैयाँ खर्च भयो, तर सातामा दुई पटक डायलसिस गराउँदा सरकारी अनुदानको २३ लाख ४० हजार रुपैयाँ खर्च भइसकेको थियो ।
पाँच वर्षदेखि मिर्गौला प्रत्यारोपणको प्रतीक्षा गरिरहेका सिन्धुलीका ३४ वर्षीय दीपक नेपालीको डायलसिसमा १३ लाख रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै इलामका ४० वर्षीय लोकबहादुर थामीले डायलसिस गर्दा ३ वर्षमा अस्पताललाई ७ लाख ८० हजार रुपैयाँ बुझाइसकेका छन् ।
नेपालमा डायलसिस गराउँदै आएका बिरामी ६ हजारभन्दा बढी छन् । एक पटक डायलसिस गराउँदा सरकारले २ हजार ५ सय रुपैयाँका दरले एक वर्षमा प्रतिव्यक्ति २ लाख ६० हजार रुपैयाँ अनुदान दिन्छ । यसरी डायलसिस अनुदानमा मात्र वर्षमा एक अर्ब ५६ करोड खर्च हुन्छ । प्रत्यारोपण सहज बनाउने हो भने सरकारको बजेट मात्र होइन, बिरामीको ज्यानसमेत जोगिन्छ । तैपनि सरकारको ध्यान प्रत्यारोपण बढाउनेतर्फ केन्द्रित हुन सकेको छैन ।
कसैले मिर्गौला प्रत्यारोपण गराउन आफैं दाता खोज्नुपर्छ । त्यसमा पनि ‘म्याच’ हुन सजिलो छैन । ऐनमा नाताको स्पष्ट परिभाषा नहुँदा मिर्गौलापीडित मर्कामा पर्ने गरेका छन् । मानव शरीरको अंग प्रत्यारोपण ऐन, २०५५ को परिच्छेद १ मा ‘नजिकको नातेदार’ ले अंगदान गर्न सकिने व्यवस्था छ । कस्ता र कति पुस्ताका नातेदारसम्मले अंगदान गर्न सक्छन् भन्ने विषय प्रस्ट छैन । यही अस्पष्टताले प्रत्यारोपण गराउन अस्पताल प्रशासन नमान्दा मिर्गौलापीडित न्यायालय धाउन बाध्य छन् ।
काका ससुराले अंगदान गर्न तयार भए पनि अस्पतालले अस्वीकार गरेपछि गत वर्ष झापाको भद्रपुर–१० की गीता भण्डारी सर्वोच्च अदालत पुग्न बाध्य भएकी थिइन् । ऐनमा काका र ससुराले मात्र अंगदान गर्न पाउने व्यवस्था भएकाले चिकित्सकहरू हच्किएका थिए । अदालतले २०७८ भदौ १३ मा आदेश दिँदै ‘काका ससुरा’ लाई पनि ससुरासरहकै नजिकको नातेदारका रूपमा समेट्दा मानव जीवन रक्षामा नकारात्मक असर नपर्ने व्याख्या गरेको थियो । यही व्याख्याका आधारमा अस्पतालले अंग प्रत्यारोपण गर्न मानेका छैनन् भने सरकारले कानुन स्पष्ट हुने गरी संशोधन गरेको छैन ।
विद्यमान ऐनको परिच्छेद १ मा ‘नजिकको नातेदार’ भनी ५० प्रकारका नातेदारले अंगदान गर्न सक्ने व्यवस्था छ । अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र राख्ने बाबुआमा, सौतेनी बाबुआमा, बाजेबज्यै, नातिनातिनी, दाजुभाइ, दिदीबहिनी, ठूलोबाबु, ठूलीआमा, काकाकाकी सम्झनुपर्ने उल्लेख छ । त्यस्तै, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जाभान्जी, सालासाली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठान सम्झनुपर्ने उल्लेख छ ।
अहिले अस्पतालहरूले दाजुभाइ, दिदीबहिनी भन्नाले अंग ग्रहण गर्ने व्यक्तिको रगतको नातेदारलाई मात्र स्विकार्छन् । ठूलोबुबा र काकापट्टिका छोराछोरीलाई अंगदान गर्न अनुमति दिने गरेका छैनन् । भतिजा, भतिजी, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, ज्वाइँ, जेठानले अंगदान गर्न सकिने व्यवस्था ऐनले गरे पनि कति पुस्तासम्मको नातालाई नजिकको नातेदार मान्ने भन्ने विषयमा अस्पताल आफैं अलमलमा छन् ।
गत फागुनमा ललितपुरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले अंग प्रत्यारोपणमा देखिएका अड्चन हटाउन चाँडै कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका थिए । अंग प्रत्यारोपण सम्बन्धमा नीति, योजना तथा कार्यक्रम तयार गरी सरकारमा पेस गर्न त्रिवि शिक्षण अस्पतालका डिन प्रा.डा. दिव्या सिंहको अध्यक्षतामा ७ जनाको अंग प्रत्यारोपण समन्वय समिति छ । ऐन धेरै खुकुलो बनाएमा बिचौलिया हाबी हुने, धनीले गरिबलाई आर्थिक प्रलोभनमा पारेर किनबेच बढ्ने जोखिम भएकाले संशोधन नगरिएको दाबी अध्यक्ष सिंहले गरिन् । ‘भारतमा भन्दा बढी नेपालमा व्याख्या गरेका छौं,’ उनले
भनिन्, ‘सरकारले रोग लाग्नुभन्दा रोकथामका लागि बजेट विनियोजित गर्नुपर्छ ।’
तर, सर्वोच्चले धेरै विश्लेषणपछि फैसला गरेकाले ऐनमा व्यवस्था भएमा मिर्गौलापीडितलाई राहत मिल्ने स्वास्थ्य सेवा विभागका कानुन अधिकृत शम्भु निरौला बताउँछन् । ‘नजिरका रूपमा स्थापित भएका यस्ता फैसला अदालतले खारेज नगरेसम्म परिपालना अनिवार्य गर्नुपर्छ,’ उनले भने, ‘फैसलाका आधारमा राजपत्रमा संशोधन गर्न सकिन्छ ।’

त्यस्तै ‘ब्रेन डेथ’ भएकाहरूको अंगदान गर्नेसम्बन्धी कानुन सरकारले २०७२ मै ल्याएको थियो । मानव शरीरको अंग प्रत्यारोपण ऐन, २०५५ को दफा १६ मा सम्बन्धित चिकित्सकले मस्तिष्क मृत्यु भइसकेको घोषणा गरेकाको अंग झिकेर अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने व्यवस्था छ । दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको शव परीक्षण गर्नुअघि शरीरबाट अंग झिक्न सकिने प्रावधान छ तर कानुन भए पनि कार्यान्वयन हुन सकेको छैन ।
मस्तिष्क मृत्युसम्बन्धी प्रत्यारोपण समितिका प्रमुख डा. कल्पना श्रेष्ठ मुलुकमा हुने कुल ‘ब्रेन डेथ’ मध्ये १० प्रतिशतको मात्रै अंग प्राप्त गर्न सकेमा बर्सेनि ३ सयभन्दा बढी बिरामीको ज्यान जोगाउन सकिने बताउँछिन् । भन्छिन्, ‘तर, आमनागरिकमा चेतना अभावले पनि मस्तिष्क मृत्युपछिको अंगदान न्यून हुने गरेको छ । चिकित्सकहरू पनि हच्किने प्रवृत्तिले अंगदान प्रक्रियालाई निरुत्साहित गरिरहेको छ ।’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारी ऐन कार्यान्वयन कडाइका साथ गर्न निर्देशन दिने बताउँछन् । मिर्गौला प्रत्यारोपण सर्जन डा. नारायण ढकाल भने सरकारको कमजोरीका कारण मिर्गौलापीडित मर्कामा पर्दै आएको अनुभव सुनाउँछन् । ‘अंगदान गर्न सकिने कानुन बनेको ७ वर्ष भयो, यो अवधिमा मस्तिष्क मृत्यु भएकाबाट १० जनाको पनि अंग अन्यमा प्रत्यारोपण हुन सकेको छैन,’ उनी भन्छन्, ‘समितिले न अनुगमन गर्छ न त बजेट नै छ ।’
सरकारलाई अस्पताल प्रशासनले ‘ब्रेन डेथ’ भएकाहरूका बारेमा जानकारी दिनुपर्ने बाध्यकारी व्यवस्था गर्न सकेमा अंग खराबी भएका धेरैलाई बचाउन सकिने डा. ढकालको भनाइ छ । ‘भारत, चीन, भुटानलगायतका मुलुकमा मस्तिष्क मृत्यु हुनेको अंग प्रत्यारोपणसम्बन्धी कानुन सजिलो छ,’ उनी भन्छन्, ‘ब्रेन डेथ भएकाहरूमा अंग झिक्न नाताको झमेला पनि हुँदैन ।’ डायलसिस गराइरहेका ६ हजारमध्ये तीन हजारको प्रत्यारोपण अंगदान नपाएर रोकिएको छ । सडक दुर्घटनाबाट मृत्यु हुनेका अंग प्रत्यारोपण गरिएमा यी तीन हजारको जीवन बचाउन सकिने भए पनि त्यसतर्फ काम हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २०७८/७९ मा २ हजार ८ सय ८३ जना, २०७७/७८ मा २ हजार ६ सय ५८ जना र २०७६/७७ मा २ हजार ५ सय जनाको मृत्यु भएको थियो ।
मस्तिष्क मृत्यु भएका व्यक्तिको फोक्सो, मिर्गौला, कलेजो, मुटु र सानो आन्द्रा गरी कम्तीमा ८ वटा अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ । मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘नेपाली समाजमा मृत्युपछिको अंगदान पुण्य काम हो भन्ने मान्यता स्थापित नभएकाले उत्साहजनक उपलब्धि हासिल भएको छैन । सरकारी र सामाजिक क्षेत्रबाट चेतना अभियानको आवश्यकता छ ।’
स्वास्थ्य विभागका अनुसार हालसम्म ३ निजी र ७ सरकारी गरेर १० अस्पतालले मिर्गौला प्रत्यारोपण स्वीकृति लिइसकेका छन् । भरतपुरको चितवन, विराटनगरको नोबेल र ललितपुरको किस्ट मेडिकल कलेज, काठमाडौंको ग्रान्डी, ललितपुर पुल्चोकको निदान, सुमेरु सामुदायिक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, वीर अस्पताललगायतले प्रत्यारोपण अनुमति पाएका छन् । ६४ जना चिकित्सकले मिर्गौला र १९ जनाले कलेजो प्रत्यारोपण गर्न इजाजतपत्र लिइसकेका छन् ।

 

मुख्य पृष्ठ

सर्वोच्च फर्कने जबराको अन्तिम प्रयास पनि असफल

- तुफान न्यौपाने

(काठमाडौं) - दस महिनादेखि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अवकाशको चार दिनअघि सर्वोच्च अदालत फर्कन गरेको अन्तिम प्रयास पनि असफल भएको छ । उनी मंसिर २७ मा ६५ वर्षे उमेरहदका कारण सेवानिवृत्त हुँदै छन् ।
प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा रहेका उनले संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई प्रयोग गरी निलम्बन फुकुवाको प्रयास गरेका थिए । गौतमले जबरालाई निलम्बन गर्ने आफ्नो गत फागुन १ को पत्रलाई निष्प्रभावी बनाउने गरी बुधबार नयाँ पत्र काटेका थिए । तर, क्षेत्राधिकार दुरुपयोग गरी पत्र पठाएको भन्दै सर्वोच्चमा रिट परेपछि संवैधानिक इजलासले शुक्रबार अन्तरिम आदेशमार्फत त्यसको कार्यान्वयनमा रोक लगाइदिएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा संलग्न इजलासले जबराको निलम्बन निष्प्रभावी हुने भनी संसद् सचिवालयका महासचिव गौतमले पठाएको पत्रलाई कार्यान्वयन गर्न रोक लगाएपछि जबराको निलम्बन निरन्तर रहने भएको छ । ०५३ वैशाख ३ मा तत्कालीन पुनरावेदन अदालत जनकपुरको न्यायाधीश नियुक्त हुँदादेखि नै विवादमा पर्दै आएका जबराको प्रधानन्यायाधीशको कार्यकाल पनि विवादैविवादका बीच टुंगिन लागेको छ ।
०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । उनीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलाई प्रतिनिधिसभाले ढिलो गरी महाभियोग सिफारिस समितिमा पठाएको थियो । समितिले जबरामाथि महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै प्रतिनिधिसभाबाट टुंगो लगाउनुपर्ने रायसहितको प्रतिवेदन गत असोज १ मा तत्कालीन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो । प्रतिनिधिसभाको कार्यकाल त्यसै दिन सकिने भएकाले समितिले नयाँ सभाबाट यसलाई टुंगोमा पुर्‍याउन सुझाएको थियो । समितिको सुझावबमोजिम तत्कालीन सभामुख सापकोटाले महासचिवलाई ‘प्रतिनिधिसभामा प्रस्तुत गर्ने व्यवस्था मिलाउनू’ भन्ने तोकादेश दिएका थिए । त्यसविपरीत महासचिव गौतमले प्रतिनिधिसभाको निर्वाचन भएपछि प्रस्तावसमेत निष्क्रिय भएको र जबराको निलम्बन पनि निष्प्रभावी भएको भन्ने पत्र पठाएका हुन् ।
महाभियोगको टुंगो लगाउने अधिकार केवल प्रतिनिधिसभालाई मात्र भएको र संसद् सचिवालयका महासचिव गौतमको पत्रले प्रतिनिधिसभाको सार्वभौम अधिकारमा अतिक्रमण गरेको भन्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यलगायत ९ जनाले बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । त्यसैमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले गौतमको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उक्त आदेशमा निलम्बन निष्प्रभावी भएको भन्ने पत्रमा कानुनी आधार नखुलेको सर्वोच्चले प्रारम्भिक ठहर गरेको छ । ‘संविधानद्वारा प्रतिनिधिसभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेको सम्बन्धी गम्भीर र महत्त्वपूर्ण प्रश्न खडा भएको सन्दर्भमा महासचिवले लेखेको पत्रको तत्काल कार्यान्वयन हुनु सुविधा सन्तुलनका दृष्टिले हेर्दा मनासिब देखिएन,’ अन्तरिम आदेशमा भनिएको छ ।
संवैधानिक इजलासलाई यस्तो अन्तरिम आदेश दिने निष्कर्षमा वरिष्ठ अधिवक्ताहरूले बहसमार्फत सहयोग गरेका थिए । बिहान साढे ११ बजे सुरु भएको इजलासमा ५० जना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराए पनि न्यायाधीश खतिवडाले पाँच जनालाई मात्र संक्षिप्तमा बहस गर्न समय दिए । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बहसको सुरुआत गर्दै इजलासले मुख्यतः दुई प्रश्नको जवाफ खोज्नुपर्ने बताए । पहिलो, प्रतिनिधिसभाको कार्यकाल सकिएपछि जबराविरुद्धको महाभियोग जीवित छ वा छैन ? दोस्रो, जबराको निलम्बन निरन्तर छ कि छैन ?
भट्टराईले महाभियोग प्रतिनिधिसभामा जीवितै रहेको र जबराको निलम्बन पनि निरन्तर रहेको दाबी गरे । उनले प्रतिनिधिसभामा रहेका विधेयक अर्को प्रतिनिधिसभामा नसर्ने र निष्क्रिय हुने भनी संविधानमा गरिएको व्यवस्था महाभियोग प्रस्तावमा आकर्षित नहुने बताए । साथै प्रतिनिधिसभा नियमावलीमा नयाँ प्रतिनिधिसभा आएपछि त्यहाँ विचाराधीन रहेका प्रस्तावहरू पनि स्वतः निलम्बन हुने व्यवस्था महाभियोग प्रस्तावका हकमा लागू नहुने जिकिर गरे । ‘नियमावलीमा अन्य प्रस्तावहरू मात्र त्यसरी निष्क्रिय हुने व्यवस्था गरिएको हो, महाभियोग प्रस्तावका हकमा छुट्टै व्यवस्था छ, जसमा निष्क्रिय हुने प्रावधान राखिएको छैन,’ उनले भने, ‘विधेयक निष्क्रिय हुने संविधानको व्यवस्थाका पछाडि पनि गहिरो कारण छ । विधेयक भनेको लेजिस्लेटिभ विसडम हो । निर्वाचनपछि आउने नयाँ विधायिकाको विसडम फेरिन पनि सक्छ तर महाभियोग भनेको व्यवस्थापिकाले गर्ने न्यायिक कार्य हो । अभियोग लागेपछि कि ठहर हुन्छ, कि सफाइ हुन्छ । त्यसबाहेक अन्य उपाय छैन । त्यसैले यो नयाँ विधायिकामा सर्छ ।’
महाभियोग सिफारिस समिति र सभामुखले समेत नयाँ प्रतिनिधिसभामा पेस गर्नु भन्ने तोकादेश दिएको सन्दर्भमा निर्वाचनपछि आएको सभामा पेस गर्नुपर्नेमा महासचिवले ती दुवै सिफारिसलाई लत्याएको उनले बताए । साथै महाभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा हुने सम्पूर्ण प्रक्रियालाई पनि महासचिवको पत्रले निष्क्रिय पारेको उनको दाबी थियो । ‘महाभियोग प्रस्ताव लिने वा नलिने अधिकार नयाँ प्रतिनिधिसभालाई मात्रै छ, जनताका प्रतिनिधिलाई भएको त्यस्तो अधिकार महासचिवले प्रयोग गर्न मिल्दैन, आफूलाई हुँदै नभएको अधिकार क्षेत्रको प्रयोग गरी महासचिवले पठाएको पत्रलाई सर्वोच्च अदालतले रोक्नुपर्छ,’ उनले भने ।
महाभियोगबाट पदमुक्त हुने पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन, अनुसन्धान र अभियोजन गर्न पाउँछ । जबराले त्यस्तो छानबिनबाट जोगिने उद्देश्यले अनधिकृत व्यक्तिको प्रयोग गरी हतारहतार ‘क्लिन चिट’ लिने प्रयास गरेको भट्टराईको आरोप छ । ‘महाभियोग लागेको व्यक्तिलाई कर्मचारीको हातबाट क्लिन चिट दिने र प्रधानन्यायाधीशको कुर्सीमा बसालेर हाजिर हुन दिने परिकल्पनासम्म गर्न सकिँदैन, यसले न्यायालयप्रतिको जनविश्वासलाई पनि खण्डित गर्छ,’ उनले भने, ‘संवैधानिक इजलासले महासचिवको पत्र निष्क्रिय पार्ने अन्तरिम आदश दिएर मात्र पुग्दैन । महाभियोग प्रस्ताव जीवितै भएकाले त्यसलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न पनि लगाउनुपर्छ ।’
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले महासचिवको पत्रमाथि दुईवटा त्रुटि रहेको औंल्याएका थिए । पहिलो, क्षेत्राधिकारको त्रुटि । दोस्रो, पत्रका विषयवस्तुको त्रुटि । प्रतिनिधिसभामा विचाराधीन महाभियोगको प्रस्तावलाई सम्पूर्ण रूपमा निष्क्रिय तुल्याउने अधिकार महासचिव गौतमलाई नभएको उनले बताए । ‘संसद्का तर्फबाट अन्तिम निर्णय गर्ने अधिकारीको हैसियतमा महासचिवको पत्र आएको छ, त्यो त्रुटिपूर्ण छ,’ उनले भने । शाक्यले पत्रको विषयवस्तुमा पनि गम्भीर संवैधानिक त्रुटि रहेको दाबी गरे । ‘संविधानको धारा १११ (१०) ले कुनै विधेयक एउटा प्रतिनिधिसभाबाट अर्कोमा नजाने र निष्क्रिय हुने व्यवस्था गरेको छ, संविधानले नै संसद्मा पेस भएको संविधान संशोधनको वा ऐनको मस्यौदालाई विधेयक भनेर परिभाषा गरेको छ, त्यसैले महाभियोग प्रस्ताव विधेयकको परिभाषाभित्र पर्दैन,’ उनले भने, ‘महाभियोग प्रस्ताव दर्ता भएर प्रक्रियामा गइसकेपछि नटुंगिएसम्म जीवित रहन्छ । प्रतिनिधिसभा विघटन भएको वा त्यसको कार्यकाल समाप्त भएको कारणबाट महाभियोग लागेको व्यक्तिले आरोपबाट उन्मुक्ति पाउँदैन ।’
वरिष्ठ अधिवक्ता शाक्यले भारतको संविधानको व्यवस्था र महाभियोगबारे त्यहाँ भइरहेको अभ्यासबारे पनि इजलासलाई जानकारी गराएका थिए । भारतको संविधानको धारा १२४ (४) मा सर्वोच्चको न्यायाधीशलाई महाभियोग पास भएबाहेक अन्य कुनै तरिकाबाट हटाउन नमिल्ने, हटाउँदा लोकसभा र राज्यसभा दुवै सदनमा उपस्थित संख्याको कम्तीमा दुई तिहाइ (जुन सम्पूर्ण संख्याको बहुमतभन्दा बढी हुन आवश्यक छ) ले महाभियोग पास गरेर राष्ट्रपतिले पनि अर्को आदेश जारी गर्नुपर्ने व्यवस्था छ । महाभियोगबारे मतदानको प्रक्रिया सुरु भएपछि त्यही अधिवेशनभित्र टुंग्याउनुपर्ने व्यवस्था छ ।
यस्तो प्रावधानलाई कतिपयले महाभियोग प्रस्ताव नै एउटै अधिवेशनमा पास गर्नुपर्ने व्यवस्थाका रूपमा बुझेको भन्दै वरिष्ठ अधिवक्ता शाक्यले भारतमा पनि महाभियोग प्रस्ताव एउटा प्रतिनिधिसभाबाट अर्कोमा सर्न सक्ने बताए । ‘भारतमा पनि महाभियोग प्रस्ताव टुंगो नलागेसम्म एउटा लोकसभाबाट अर्कोमा सर्न सक्छ, त्यहाँ मतदानको प्रक्रियामा गएपछि मात्रै सदनको त्यही अधिवेशनमा टुंगोमा पुर्‍याउनुपर्ने व्यवस्था रहेको हो,’ उनले भने, ‘सन् १९९१ मा त्यहाँको सर्वोच्च अदालतका एक जना न्यायाधीश भी. रामास्वामीमाथिको महाभियोग त्यस्तैगरी एउटा लोकसभामा दर्ता भएर अर्कोमा सरेको थियो । हाम्रोमा त झन् संविधानमै स्पष्ट व्यवस्था छ । महाभियोगको टुंगो नलागेसम्म निलम्बन कायमै रहन्छ ।’
नेपालमा अनुशासनहीनताले पराकाष्ठा नाघेको भन्दै इजलासले त्यसलाई ‘नोटिस’ मा लिन वरिष्ठ अधिवक्ता शाक्यले सुझाए । ‘यसअघि न्याय परिषद्को सचिवले पत्र काटेर प्रधानन्यायाधीशको जागिर खाइदियो । अहिले संसद्को महासचिवको पत्रले महाभियोगको प्रस्ताव नै निष्क्रिय बनाउन खोजेको छ । के अब मुख्यसचिवको पत्रले प्रधानमन्त्री पदमुक्त हुने हो ?’ उनको प्रश्न थियो ।
पूर्वमहान्यायाधिवक्ता बद्रिबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश जबरा र संसद् सचिवालयका महासचिव गौतम दुवैलाई संसद् र अदालतको मानहानि गरेकामा कारबाही गर्नुपर्ने बताए । ‘महाभियोगमा बयान दिन गएको व्यक्ति (जबरा) सांसदहरूलाई भाषण दिएर फर्किएको छ, ममाथि लगाइएका आरोप तिमीहरूको होइन, बारले लगाएको हो भन्दै छ, सांसदहरू शिर निहुराएर बसिरहेका छन्, आफ्नो विशेषाधिकारमा हस्तक्षेप गरेकामा तुरुन्तै कारबाही गर्न सक्ने अधिकार संसद्लाई छ,’ वरिष्ठ अधिवक्ता कार्कीले भने, ‘आफूलाई क्लिन चिट चाहियो भनेर निवेदन दिने जबरा र त्यस्तो पत्र दिने गौतम दुवैलाई संसद्ले कारबाही गर्न सक्छ । साथै यो कार्य न्यायिक प्रक्रियामाथिको ठूलो अवरोध हो । त्यसैले अदालतले समेत सिधै अवहेलनामा कारबाही गर्नुपर्छ ।’ उनले न्यायिक इतिहासमा योभन्दा ठूलो असक्षमता र बदमासीको अर्को उदाहरण नपाइने बताए ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘मानिसहरू पवित्र हुन गंगामा डुबुल्की मार्न जाने भए पनि अहिले आएर गंगा नै अपवित्र बनेको’ बताए । भने, ‘अरू पवित्र छन् कि तिनमा मिसावट छ भनेर जाँच्ने काम प्रधानन्यायाधीशको हो तर यहाँ त स्वयं प्रधानन्यायाधीश अपवित्र भए । त्यो जाँच्ने जिम्मा आज संवैधानिक इजलासलाई आएको छ । यो अपवादको पनि अपवादमा आउने विवाद हो । यसलाई त्यही गम्भीरताका साथ यो इजलासले टुंगोमा पुर्‍याउन जरुरी छ ।’
उनले निलम्बित प्रधानन्यायाधीश जबरामाथि भ्रष्टाचारमा डुबेको भन्ने तमाम आरोप
लागेको, ती आरोप संसद्मा विचाराधीन रहेकै अवस्थामा महासचिवले पत्रमार्फत उन्मुक्ति दिने दुष्प्रयास गरेको भन्दै त्यसलाई ‘राजद्रोहात्मक’ काम भएको आरोप लगाए । थापाले संवैधानिक व्यवस्थालाई नै तहसनहस पार्ने गरी पत्र लेखिएकाले त्यसलाई मानहानिमा सीमित राख्न नहुने बताएका थिए । संवैधानिक इजलासले महाभियोगबारे लामो परम्परा बस्ने गरी
आदेश दिनुपर्ने थापाको राय छ । २०१५ सालदेखि नै सांसद निर्वाचित हुँदै आएको भए पनि नेपालमा संसदीय अभ्यास राम्रोसँग हुन नसकेको बताउँदै उनले संसदीय अभ्यास र परम्परा बस्ने गरी आदेश दिन माग गरे । उनले भने, ‘अहिले संविधानको धारा र उपधाराको प्रश्न होइन । संसदीय अभ्यास, न्यायिक आदर्श, विश्वसनीयता र प्रसिद्धिका लागि पनि अन्तरिम आदेशबाट निलम्बित प्रधानन्यायाधीश र महासचिवको दूषित जालसाजीपूर्ण कार्यमा रोक लगाउनुपर्छ ।’
वरिष्ठ अधिवक्ताहरूको यस्तो बहस सुनेपछि संवैधानिक इजलासले मागबमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने जवाफ मागेको छ । प्रधानन्यायाधीश जबरालाई आफैं वा आफ्नो प्रतिनिधिमार्फत सात दिनभित्र लिखित जवाफ पठाउन भनेको छ भने संघीय संसद् र
संसद् सचिवालयका महासचिवलाई महान्यायाधिवक्तामार्फत जवाफ पठाउन आदेश दिएको छ ।

 

मुख्य पृष्ठ

चिनियाँ जहाज लिलाम गर्दै निगम

- सुरज कुँवर

(काठमाडौं) - नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ । जहाज भाडामा सञ्चालन गर्न कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको कारण देखाउँदै निगमले प्रक्रिया थालेको हो । ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा छन् ।
विमानस्थलको पूर्वोत्तर क्षेत्रमा रहेको रिमोट पार्किङ वेमा थन्काइएका जहाज लिलामका लागि मूल्यांकन गराउन निगमले मंगलबार आशयपत्रको सूचना निकालेको छ ।

यी जहाजलाई भाडामा सञ्चालन गर्न कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएकाले अर्थ मन्त्रालयको रायअनुसार लिलाममार्फत बिक्री गर्न मूल्यांकनको सूचना निकालेको निगमले जनाएको छ । ‘चिनियाँ जहाजलाई भाडामा लगाउन दुईपटक सूचना निकाल्यौं,’ निगम प्रवक्ता अर्चना खड्काले भनिन्, ‘अब लिलाम बिक्रीका लागि जेजस्तो अवस्थामा रहेका छन्, तिनको मूल्यांकन तय गर्न सूचना निकालिएको छ । मूल्यांकनकर्ताको पूर्ण आर्थिक मूल्यांकनका आधारमा यी लिलाम बिक्री प्रक्रिया थालिनेछ ।’
निगमको संस्थागत विभागले चिनियाँ जहाजको मूल्यांकनका लागि आह्वान गरेको १५ दिने सूचनामा इच्छुक व्यावसायिक फर्मलाई पुस ५ गतेभित्र आयशपत्र बुझाउन भनिएको छ । संस्थागत विभागको निर्देशकसमेत रहेकी खड्काले आशयपत्रमा कुनै अलमल सृजना नभए माघ अन्तिमसम्ममा जहाजको पूर्ण मूल्यांकन प्रतिवेदनका आधारमा आर्थिक दर तय भइसक्ने बताइन् । मूल्यांकनकर्ताले दिने अधिकतम र न्यूनतम मूल्यांकन दरलाई आधार मानेर निगम जहाज बिक्रीका लागि अन्तिम चरणको टेन्डर प्रक्रियामा जानेछ ।
आन्तरिक उडानमा ३ प्रतिशतभन्दा कम हिस्सामा खुम्चिँदै गइरहेको निगमलाई अब्बल र आक्रामक बनाउन २०७१ मा तत्कालीन सरकारले अनुदान र ऋण गरी ७ अर्ब ४६ करोड रुपैयाँ लागतमा ६ वटा चिनियाँ जहाज खरिद गरेको थियो । सुगम रुटको उडानका लागि ५६ सिट क्षमताका दुईटा एमए–६० र दुर्गम र हिमाली भेगको उडानका लागि १९ सिट क्षमताका चारवटा वाई १२ ई जहाज ल्याइएका थिए । पहिलोपटक २०६८ मा सरकारले दुर्गम र हिमाली भेगका जनतालाई सस्तो र सुलभ हवाई यातायात सुविधा दिन चिनियाँ जहाज खरिदको निर्णय गरेको थियो । त्यसैअनुसार सरकारले चीन सरकारको स्वामित्वमा रहेको एभिक कम्पनीसँग २०६९ असोजमा जहाज अनुदान र ऋणमा खरिद गर्ने निर्णय गरेको थियो ।
निगमको श्वेतपत्रअनुसार सरकारले दुइटा एमए ६० को २ अर्ब ६४ करोड रुपैयाँ र चारवटा वाई १२ ई को १ अर्ब ६८ करोड गरी ४ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ । यो लगानीमा चीन सरकारको ३ अर्ब २९ करोड रुपैयाँ बराबरको अनुदान सहायता रहेको छ । ऋण लगानीको रकम चीनको एक्जिम बैंकमार्फत एभिकले भुक्तानी पाउने गरेको छ । २० वर्षको भाका रहेको एक्जिम बैंकको ऋणमा वार्षिक १ दशमलव ५ प्रतिशत ब्याज तोकिएको छ ।
०७१ असारदेखि आन्तरिक उडानमा लगाइएका चिनियाँ जहाज उडाउँदा निगमले कहिल्यै नाफा आर्जन गर्न सकेन । यी जहाज एकैसाथ पनि कहिल्यै उडेनन् । ०७७ असारमा निगम सञ्चालक समितिले यी जहाज ग्राउन्डेड गर्दासम्म २ अर्ब ४८ करोड रुपैयाँ घाटा व्यहोरिसकेको थियो । यी जहाज ग्राउन्डेड गर्दा पनि अहिले निगमले दैनिक १० लाख रुपैयाँ हाराहारी खर्च व्यहोर्नुपर्छ । यसमा जहाजको बिमा, पार्किङ शुल्क, डिप्रिसिएसन रकमलगायतको व्यय रहेको छ ।
चिनियाँ जहाज उडाएको दोस्रो वर्ष २०७२ देखि निगमले तालुक मन्त्रालयलाई जहाज सञ्चालन गर्न नसकिने भन्दै आएको थियो । उसले यी जहाज सञ्चालन गर्दा स्पेयरपार्ट अन्य जहाजको तुलनामा ४ गुणासम्म महँगो, अंग्रेजी भाषा जानेको प्रशिक्षक पाइलट अभावलगायत ८ वटा समस्या रहेको जनाउँदै आएको छ ।

 

Page 2
समाचार

फैलिँदै पोखरा

- अनिष भट्टराई

(पोखरा) - भीमसेन देवता (भीं देउ) को पूजा सकेर टीका लगाएपछि नर्तकीहरूको बोली बन्द हुने परम्परा छ । टीका लगाएर नाचस्थलमा पुगेपछि भैरव, गणेश, दागिनी, भुच्चा, कवाङको मुकुट लगाएका १२ जना नर्तकीले फरक–फरक चरणमा विभिन्न रागमा नाच देखाउँछन् । झन्डै चार घण्टा नाच देखाएपछि बल्ल उनीहरूले बोल्न पाउँछन् ।
पोखराको इतिहास सुरु गर्नुअघि दुई सय वर्ष पुरानो इतिहास भएको भैरवनाचको कथा भन्नु जरुरी हुन्छ । किनकि यो नाचको कथाले पोखरा कति पुरानो हो भन्ने बुझाउँछ । पोखरा विकासका अभियन्ता आनन्दराज मुल्मीका अनुसार कास्कीका अन्तिम शाह राजा सिद्धिनारायण शाहले विकासका काम गर्न भक्तपुरबाट सुरुमा १ सय ५० जनाको समूहमा शिल्पकार र व्यापारीहरूलाई ल्याएपछि उनीहरूले नै भैरव नाच सुरु गरेका हुन् । तत्कालीन समयमा भक्तपुरबाट आएका नेवार समुदायले आफ्नो व्यापार बढाउन भैरवनाच चलाइएको पोखराका अगुवाहरू अड्कल काट्छन् । भैरवनाच देखाइने यही ठाउँ नै पोखराको केन्द्र हो । समाज तथा मिडिया अध्येता शेखर पराजुली ३० को दशकको अन्त्यसम्म पनि अहिलेको महेन्द्रपुल, विरौटाका बासिन्दा ‘पोखरा’ भन्दै नालामुख, गणेशटोल आउने गरेको सम्झन्छन् ।
इतिहासमा पोखरा भनेकै अहिलेको गणेशटोल, भैरवटोल, रामकृष्ण टोल । लस्करै परेको दक्षिण मोहोडाका घरहरू । ढुंगामाटोको गारो । खरको छानो । माथि अन्नपूर्ण हिमाल । तल सेती नदी । नदीमाथि बाँसका भाटाहरू जोरजाम गरेर बनाइएको साघुरो काठेसाँघु थियो । त्यही साँघु कटेपछि बजार पुगिन्थ्यो । बजार भन्नु पनि उही खरकै छानाका घरको लस्कर थियो । स–साना झ्यालढोका भएका घर, होचा पालीसहितका पिँढीमा सरसामानहरूको बिस्कुन । सहरी विकासको कुनै योजना नै नहुँदा पोखराले सुरुआतबाटै विकासको मूर्त रूप लिन सकेन । न व्यवस्थित बस्ती बसालिएको थियो, न त कुनै योजना नै बनाइएको थियो ।
खानीको सम्भावनाबारे अध्ययन गर्न २००२ सालमा नेपाल आएका अमेरिकी नागरिक विट् अल्फ्रेड ब्राउनले आफ्नो पोखरा भ्रमणका बारेमा बताएका छन्, जहाँ उनले त्यस बेलाको पोखरालाई अंग्रेजी अक्षर ‘टी’ आकारको ठाउँमा माटाको घर भएको र शून्य बजार भएको सहर उल्लेख गरेका छन् । ड्यान इडवार्डस्द्वारा लिखित ‘अमेरिका मिट्स नेपाल’ पुस्तकमा ब्राउनको यात्रा वृत्तान्तमा छ । भनिएको छ– ‘बाटाहरू उबडखाबड ढुंगाले छाइएको छ, घरहरू माटाका छन्, केही ढुंगाले बनाइएका राम्रा घर पनि छन् । बजार लगभग खाली छन्, तर अरू ठाउँका बजारभन्दा बढी नै सामान पनि रहेछन् । चुरोट र चमकदार चुराहरू पाइने रहेछन् ।’
यही उबडखाबड बजारको सानो ठाउँबाटै पोखराको बस्ती विकास भएको इतिहासका अध्येता सुनील उलक बताउँछन् । उलकले पुरानो पोखराका तस्बिरहरू संग्रह गरेका छन् । पोखराको केन्द्र मानिएका गणेशटोल, भैरवटोल, मोहरियाटोल अहिले शान्त देखिन्छन् । न कुनै चहलपहल, न कुनै बजारका होहल्ला । पुराना घरहरू पनि समयसँगै मासिँदै गएका छन् । सेती तर्न बनाइएको कोठेसाँघु कालान्तरमा महेन्द्रपुलमा परिणत भइसकेको छ । कुनै बेला थाप्ले हुलाकीका खेत रहेका अहिलेका चाउथे, अमरसिंह, कुँडहरका फाँटमा घनाबस्ती र बजार छन् । संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार २००८ सम्म पनि पोखराको सबै भेगमा मानिसको जीवन ग्रामीण शैलीकै थियो । तर पहिलो पटक विमान अवतरण गरेपछि भने जीवनस्तर उकासिन थाल्यो । श्रेष्ठकै भनाइमा विमान आउनु नै पोखरा विकासको पहिलो घुम्ती मान्न सकिन्छ ।

विमानबाट उडान भरेको विकास
पोखराको इतिहास खोज्दै जाँदा कास्कीकोटे राजाहरूको शासनमा भक्तपुर, गलकोट, नुवाकोटजस्ता भेगबाट मान्छे ल्याएर बस्ती बसालेको तथ्यसम्म पुगिन्छ । विसं १८२६ मा भक्तपुरबाट करिब ७ सयभन्दा बढी मानिस भागेर अधौपौवा हुँदै पोखराको अहिलेको बजार क्षेत्रमा बसे । सिद्धिनारायण शाहले २६ परिवारलाई भक्तपुरबाट पोखरा ल्याएर राखे । त्यो ठाउँको नाम पछि २६ कुरिया नाम थियो ।
इतिहास अध्येता उलक भीमसेनटोल, मोहरिया र गणेशटोलमा बनाइएका गणेशको मूर्तिबीचको ठाउँबाट नै बस्ती विकास सुरु भएको बताउँछन् । उनीहरूलाई खेती गरेर खान अहिलेको कुँडहर, चाउथे, औद्योगिक क्षेत्रका फाँट दिइएको थियो । पोखरेली अभियन्ता आनन्दराज मुल्मी गणेशटोल, भीमसेन टोलबाट नै पोखराको बस्ती विकास थालिएको बताउँछन् ।
नेवारहरूले बस्ती बसाउँदा सुरुमा मन्दिर बनाउने गरेको बुझाउँदै उनले भने, ‘यी तीन टोलमै मूर्ति राखिएका छन् ।’ गणेशटोल, भीमसेनटोल, मोहरियाटोलमा बस्ती सुरु हुनुको कारण पानीको उपलब्धतासँग जोडिन्छ । मुल्मीका अनुसार पकौंदीस्थित पानीको मुलकै कारण यहाँ बस्ती बसेको हुनुपर्छ ।
हालको पोखरामा पहिलो ढुंगेधारा पनि नालामुखमै निर्माण गरिएको थियो । विसं १९५० मा नालामुखमा बनाइएको ढुंगेधारा नै पोखराको पहिलो खानेपानीको धारा मानिन्छ । खानेपानीका कारण नालामुख र तेर्सापट्टिमै आवादी बढेपछि २६ वर्षको अन्तरालमा यहाँ थप १४ धारा बनाइएका थिए । बबरशमशेरले आफ्ना छोरा बालशमशेरको सम्झनामा विसं १९७६ मा १४ वटा धारा बनाएको पोखराका बूढापाका बताउँछन् । आधुनिक पोखराको इतिहास भने धेरै पुरानो छैन । २००६ चैत २९ मा विन्ध्यवासिनी क्षेत्रबाट भएको आगलागीपछि खरका छाना भएका घर विस्थापित हुन थालेको पाइन्छ । तत्कालीन सरकारले कर्कटपाता किन्न अनुदान दिएपछि घरका छानाले नयाँ रूप पाएको उलक बताउँछन् । २००८ सालमा हवाई जहाज पोखरा अवतरण गरेपछि सहर आधुनिकतातिर लम्किएको बुझाइमा धेरैको सम्मति देखिन्छ । आनन्दराज मुल्मी पनि विमान आएपछि नै पोखरामा आधुनिक सहरी निर्माणको प्रक्रिया सुरु भएको मान्छन् । कांग्रेस नेता बीपी कोइराला गृहमन्त्री र गणेशमान सिंह यातायातमन्त्री हुँदा पोखरामा पहिलो पटक विमान अवतरण भएको थियो । उनीहरू पोखरा आउँदा २००८ सालको अन्त्यतिर घारीपाटनमा मैदान खनेर हिमालयन एभिएसनको जहाज अवतरण गराइएको थियो ।
आधुनिक पोखराको विस्तारमा दोस्रो विश्वयुद्ध पनि कारक देखिन्छ । गण्डकी प्रदेशबाट बेलायती र भारतीय सेनामा भर्ती भएका नेपालीहरूले आर्जेको रकमबाट पोखरामा विस्तारै आधुनिकताको रंग थपिन थालेको देखिन्छ । २०१३ सालमा रामघाटमा सोल्जर्स बोर्ड हस्पिटल र अमरसिंहमा सोल्जर्स बोर्ड भोकेसनल ट्रेनिङ सेन्टर खोलिएको इतिहासले पनि यो तर्कलाई पुष्टि गर्छ । पछि यी दुई संस्था गण्डकी अस्पताल र अमरसिंह विद्यालयका रूपमा नामकरण गरिए । २०१३ चैतमा निर्माण गरिएको विद्यालय २०२३ मा सरकारलाई हस्तान्तरण भएपछि अमरसिंह उच्च मावि बनाइएको थियो भने सोल्जर्स हस्पिटललाई २०३० सालपछि गण्डकी अञ्चल अस्पताल हुँदै अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको छ ।
२०१३ सालमै भारतीय पेन्सन क्याम्प पोखरामा खुल्यो । पेन्सन थाप्न आउने लाहुरे पोखरामै घडेरी किनेर बसाइँ आउन थाले । पेन्सन क्याम्प, अस्पताल र विद्यालय खुलेपछि पोखरामा मानिसहरूको आगमन बढ्न थालेको हो । २० को दशकमा सुनौली–पोखरा राजमार्ग (अहिलेको सिद्धार्थ राजमार्ग) बनेपछि भने पोखरा विकासमा गति थपियो । भारतको सहयोगमा निर्मित यो राजमार्गले पोखरामा मानिसहरूको आवातजावत मात्रै बढाएन, व्यापारको केन्द्र पनि बनायो । ७३ वर्षीय मुल्मीले भने ‘४० रुपैयाँ पाथी पर्ने नुन राजमार्ग बनेपछि नै ढुवानी सहज भएर १० रुपैयाँ पाथीमा झर्‍यो ।’
३० को दशकको सुरुआतमा पोखराको सहरी विकास योजना ल्याइयो । तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र इन्जिनियर पदमबहादुर क्षेत्रीले सहरी विकास योजनाअन्तर्गत न्युरोडमा बस्ती विकाससँगै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, बसपार्क निर्माणका योजना अघि बढाए । त्यही योजनाअन्तर्गत नेपालमै पहिलो पटक जग्गा अधिग्रहण गर्दै २०३४ सालमा न्युरोडमा बस्ती विकास सुरु भयो । त्यो सहरी विकास योजनामा पोखरामा एउटा न्युरोड बनाउने मात्रै योजना थिएन । तत्कालीन अञ्चलाधीश पाठक पोखरा विमानस्थलबाट पोखरा–१६ दीपसम्म सोझो बाटो लैजान चाहन्थे । तर बीचको दुई ठाउँमा विरोध भएपछि अहिलेको सभागृह चोकबाट चिप्लेढुंगासम्म न्युरोड सीमित भयो । सभागृह अगाडि रहेको चिनियाँ शरणार्थी शिविर हटाउन शरणार्थी असहमत भएको र चिप्लेढुंगामा स्थानीयले बाटोको बीचमै नागको मूर्ति रातारात बनाएर बाटो लैजान नदिएको इतिहास अध्येता उलक बताउँछन् ।
यही योजनापछि नै पोखराको चलहपहल हुने क्षेत्र महेन्द्रपुलबाट सरेर लेकसाइड र बेगनास तालसम्म पुग्यो । सहरी विकास योजना आएपछि पोखराको न्युरोडमा बसाइएको बस्ती र तालचोकबाट बेगनास पुग्ने सडक निर्माण भएपछि पोखरा विस्तार हुन थालेको मान्छन् उलक । त्यसपछि नै महेन्द्रपुलबाट बजार सर्न थालेको हो । स–साना टोलबाट पोखरा फैलिँदै न्युरोड र लेकसाइडसम्म आइपुगेपछि पनि सहरको विस्तार रोकिएन । सहरी विकास योजनाबाट सुरु भएको विकास क्रम अन्तर्राष्ट्रिय विमानस्थलसम्म निर्माण भने झन्डै पाँच दशकपछि अब अन्तिम चरणमा छ । आगामी पुस १७ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । पोखरालाई विश्वसँग जोड्ने सपना देखेर आफूले अन्तर्राष्ट्रिय विमानस्थलको कल्पना गरेको शंकरराज पाठक बताउँछन् । राजा वीरेन्द्रलाई विमानस्थलको योजना सुनाएको प्रसंग उनले स्मरण गरे । ‘सुरुमा हाँसेर उडाए पनि केही दिनपछि मलाई बोलाएर विमानस्थलबारे चासो राख्नुभयो । पछि उहाँ सहमत बन्नुभयो र म अधिग्रहणका लागि घरघर पुगे,’ उनले भने ।

खरबारीदेखि बजारसम्म
पोखरामा २०३० सम्म पनि प्रशस्त खरबारी र काँसघारी थिए । समाज अध्येता शेखर पराजुलीका अनुसार अहिलेको पृथ्वीनारायण क्याम्पस भएको ठाउँमा ठूलो खरबारी थियो । यसमा इतिहास अध्येता उलक पनि सहमत छन् । उनका अनुसार विन्ध्यवासिनी क्षेत्र, महेन्द्रपुल, चाउथे जस्ता ठाउँमा पछिसम्म पनि खरबारी थिए । पोखरामा खानेपानीको समेत समस्या थियो । पराजुली स्वयं नै नुहाउन र खानेपानी लिन कालीखोला जाने गरेको स्मरण गर्छन् । जसै पोखरामा सहरीकरण तीव्र बन्यो, केन्द्र गणेशटोल, भैरवटोल, तेर्सापट्टी, नालाकोमुखबाट महेन्द्रपुल, न्युरोड, पृथ्वीचोकसम्म बजार फैलियो । डेढ दशकयता पोखराको पूर्वी फाँट कुँडहरका खेतहरू मासिएर घडेरी बनिसके । बस्ती बाक्लो भइसक्यो । बस्ती अझै लम्किएर साविक लेखनाथ नगरका फाँटहरूमा फैलिरहेको मात्रै छैन यो फैलावट उपत्यकाका डाँडाकाँडा उक्लिएको छ ।
सराङकोट, काहुँ, पुम्दीकोट, रूपाकोट जस्ता डाँडामा करोडौं लगानीको होटल तथा रेस्टुरेन्टहरू सञ्चालनमा छन् । पर्यटकहरू पनि पोखरा भन्नेबित्तिकै लेकसाइड, डेभिज फल्स, महेन्द्र गुफा र वेगनासतालमा मात्रै अल्झिन छाडिसकेका छन् ।
पोखरामा राजा महेन्द्रले २०१४ साल रानीको नाममा बंगला बनाए– रत्न मन्दिर । उनका भाइ हिमालयले होटल फिस्टेल खोले । विस्तारै नागरिकस्तरबाट सन् १९७० को पूर्वाद्धमा पहिलो छिमलमा होटल लेकसाइड र होटल स्नोल्यान्ड खोलिएपछि सुरु भएको सेवामा आधारित व्यवसाय अहिले पोखराको मुख्य आर्थिक आधार भएको छ । अहिले त मुख्य बजारमा ७ सय २५ होटल खुलेका छन् । होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखरा आसपासका क्षेत्रमा गरेर १२ सयभन्दा बढी होटल खुलिसकेका छन् । अहिले नेपालमा आउने पर्यटकमध्ये ४५ प्रतिशत पर्यटक पोखरा आउने गरेको तथ्यांक छ । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाका अनुसार कोरोना महामारीपछि पोखरामा बर्सेनि आन्तरिक र बाह्य गरी ५ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् ।
पोखरा बिस्तारै लेकसाइडबाट वरपरका डाँडाहरूतिर पनि विस्तार हुँदै छ । त्यसका निम्ति पूर्वाधार निर्माणको काम पनि बढिरहेको छ । जस्तो कि, पोखरा–२२ पुम्दीकोटमा ४० करोडको लगानीमा शिव मूर्ति बनाइँदै छ । निर्माणाधीन उक्त आयोजना क्षेत्रमा अहिले दिनहुँ हजार पर्यटक जाने गरेको शिव मूर्ति निर्माण आयोजनाका संयोजक चन्द्रकान्त बराल बताउँछन् । शिव मूर्ति निर्माणसँगै यो क्षेत्रमा नयाँ रेस्टुरेन्ट, होटल खुल्ने क्रम जारी छ । शिव मूर्ति निर्माण नहुँदा भ्यु प्वाइन्ट भए पनि ३ वर्षअघिसम्म सुनसानप्रायः यो डाँडामा अहिले ५० भन्दा बढी नयाँ व्यवसाय सञ्चालनमा छन् ।
पोखराको केन्द्रमा बस्नेहरूका लागि दुई दशकअघिसम्म सराङकोटमा पर्यटक उदाउँदो र अस्ताउँदो सूर्य हेर्न पुगे पनि अहिलेको जस्तो विकसित भइसकेको थिएन । पोखराका पुराना व्यवसायी बिरु बम्जनले २०५७ मा सनराइज प्याराग्लाइडिङ प्रालि खोलेपछि यो डाँडाले धेरैको ध्यान खिच्यो । यी दुवै कारणले यहाँ पयर्टक ओइरिन थालेपछि सराङकोटमा होटल खुल्न थाले । सराङकोटमा अहिले भ्यु टावर निर्माणको पनि काम भइरहेको छ । पोखरा–१८ सराङकोटका पूर्ववडाध्यक्ष तथा खपौदी पर्यटन विकास समितिका अध्यक्ष रणबहादुर थापाका अनुसार सराङकोटमा खपौदीबाट माथि डाँडासम्म २ सयभन्दा बढी रेस्टुरेन्ट र केही होमस्टे छन् । बढ्दो व्यापारसँगै सराङकोटमा ठूला व्यापारिक घरानाले जग्गा लिएर अपार्टमेन्ट निर्माण गरिरहेका छन् । बाराही ग्रुप, केसी परिवार जस्ता व्यापारिक घरानाले सराङकोट र खपौदी क्षेत्रमा अपार्टमेन्ट निर्माणका लागि जग्गा लिएर राखेका छन् ।
लेकसाइडबाट सराङकोट पुग्न हालैमात्र २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्नपूर्ण केवलकार सञ्चालनमा ल्याइएको छ । पुम्दीमा जस्तै सराङकोटको डाँडामा ६ करोडको लगानीमा शिव तथा पञ्चमुखे गणेशको मूर्ति निर्माण हुँदै छ । यो लगानीले यहाँ थप पर्यटकको चाप बढ्ने विश्वास लिइएको छ । सराङकोट डाँडैमा २ सयभन्दा बढी क्षमताको सुविधासम्पन्न अपार्टमेन्ट निर्माणाधीन छ । पोखरा पुम्दीकोट र सराङकोटमा मात्रै फैलिरहेको छैन, कास्कीकोट, रूपाकोट, पञ्चासेसम्म विस्तारित भइरहेको छ । व्यवसायी तथा पुम्दिकोटका अभियन्ता चन्द्रकान्त बराल फैलिँदो पोखराका कारण पर्यटकीय गन्तव्य पनि बढ्ने र पोखरामा बस्ने समय पनि लम्बिने बताउँछन् । ‘लगानी, उत्पादनको कुरा त छँदै छ । ट्याक्सी चलाउनेदेखि पेट्रोल बेच्नेले फाइदा लिन सक्छन्,’ उनले भने, ‘गाउँमा होमस्टेदेखि स्थानीय सामानकै ब्रान्डिङ पनि गर्न सकिन्छ ।’
बरालको तर्कविपरीत पोखराका डाँडाकाँडामा फैलिरहेको पर्यटन उद्योगबाट स्थानीयले अपेक्षित फाइदा भने लिन थालिसकेका छैनन् । नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका आनन्दराज मुल्मी डाँडा–डाँडामा लगानी गर्नुले अर्थतन्त्रको ‘चेन’ मा केही प्रभाव नपर्ने बताउँछन् । डाँडामा लगानी गरेर एकै किसिमका व्यवसाय सञ्चालन गर्नुको सट्टा भएकै होटल, रेस्टुरेन्टको अकुपेन्सी र मौलिक उत्पादनको उत्पादकत्व बढाउनुपर्ने उनको तर्क छ ।
पोखरा अब केही टोलहरूमा मात्रै सीमित छैन । नगर क्षेत्र विस्तार भएर भौगोलिक रूपमा मुलुककै ठूलो महानगरमा परिणत भइसकेको छ । २०७३ फागुन १७ मा लेखनाथ नगरपालिकालाई तत्कालीन पोखरा उपमहानगरपालिका गाभेर महानगर घोषणा गरिएको थियो । लेखनाथ क्षेत्र पोखरामै परिणत भएको छ । साविक लेखनाथ नगरपालिकाका प्रमुख शालिग्राम पौडेल पोखराका विस्तारित क्षेत्रफलले महानगरको ठूलो भए पनि सबै वडामा पूर्वाधारको समान पहुँच अझै हुन नसकेको औंल्याउँछन् । ‘लेखनाथलाई गार्डेन सिटीका रूपमा विकास गर्ने योजना पनि अहिलेसम्म अघि बढ्न सकेन र पालिका गाभ्दैमा सहर विस्तारित भएको भन्न मिल्दैन,’ उनले भने । मुलुकको पर्यटकीय सहर पोखरालाई प्रकृतिले सुन्दर भूगोल दिएको छ । त्यसमा थपिएका पूर्वाधारले बस्ती विकास र अवसरहरूसँगै महानगरवासीमाझ समान पहुँच पुर्‍याउनुपर्ने चुनौती पनि बढाएको छ ।

 

Page 3
समाचार

प्रदेश कमजोर भयो कि बनाइयो ?

- कलेन्द्र सेजुवाल

(काठमाडौं) - पाँचवर्षे पहिलो कार्यकालमा बामे सर्न मात्रै सिकेका प्रदेश सरकारहरूको आगामी कार्यकाल कस्तो रहला ? प्रदेश सरकारले संघीय सरकारको असहयोगका बाबजुद पहिलो कार्यकालमा संघीयताको जग हाले पनि प्रभावकारी काम गर्न सकेनन् । बरु अधिकार प्राप्तिका लागि संघीय सरकारसँग टकराव र मुद्दा मामिलासमेत गर्नुपर्‍यो ।
प्रदेश सरकारहरू मुख्यतः सरकार बनाउने र ढाल्ने खेलमै अल्झिए । ५५० सदस्यीय प्रदेशसभाका झन्डै आधा २ सय ३० सांसदले मन्त्री बन्ने अवसर पाए । १४ जना मुख्यमन्त्री भए । मधेसका मुख्यमन्त्री लालबाबु राउत र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मात्रै कार्यकाल पूरा गर्न पाए । यही विकृतिका कारण प्रदेश सरकारको औचित्यमाथि प्रश्नसमेत उठ्ने गरेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री राउतलाई सुरुवाती दिन सम्झिँदा कहाली लाग्छ ।
न काम गर्ने कर्मचारी न आवश्यक कानुन र संरचना । गुडिरहेको गाडी कति बेला कहाँ रोकिने हो भन्ने सामान्य चिन्ताले
समेत उनलाई सताउँथ्यो । अहिले कार्यकाल सकिनै लाग्दा उनलाई एउटै चिन्ताले सताउँछ– शून्यताको भुमरीभित्र पसेर संघीयताको जग त हालियो, अब यसको दिगोपन कति होला ?
संघीयता कार्यान्वयन गर्ने क्रममा संघीय सरकारसँग सबैभन्दा बढी टकराव पनि मधेस सरकारकै पर्‍यो । तैपनि मधेस प्रदेशले पाँच वर्षसम्म देखिने गरी केही काम गरेको छ । प्रदेश सरकारले मधेसमा तीन वटा विश्वविद्यालय स्थापना गरेको छ । वीरगन्जमा मधेस विश्वविद्यालय, राजविराजमा कृषि विश्वविद्यालय र जनकपुरमा विश्वविद्यालयसरहको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् ।
छोरी जन्मिनेबित्तिकै ३ लाखको बिमा हुन्छ । मुख्यमन्त्री राउतका अनुसार अहिले मधेसमा प्रतिदिन १५ देखि २० नवजात
छोरीको अनलाइनबाट बिमा हुने गरेको छ । प्रदेश निजामती ऐन र प्रदेश प्रहरी ऐनमा
५० प्रतिशत महिला आरक्षणको व्यवस्था गरिएको छ ।
‘एकातिर प्रदेशको संवैधानिक अधिकार प्राप्तिका लागि संघीय सरकारसँग लफडा परिरह्यो, अर्कोतिर शिक्षा र समाज विकासमा क्रान्तिकारी काम गर्‍यौं,’ मुख्यमन्त्री राउतले भने, ‘त्यसैले मधेस सरकारको पहिलो कार्यकाल संघर्षको बीचबाट पनि सफल भएको छ ।’
यो बीचमा मधेस सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा साइकल खरिद गर्दा १० करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउनमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अत्यावश्यक प्रहरी ऐनको मस्यौदा बनाए पनि केन्द्र सरकारले पुरानो प्रहरीसम्बन्धी कानुन कार्यान्वयन नगर्दा आफ्नो प्रहरी गठन गर्न सकेको छैन । केन्द्रसँग यस्तो टकरावबीच मधेस सरकारद्वारा संघीय सरकारविरुद्ध सर्वोच्चमा ६ रिट हालेको थियो । त्यसको सुनुवाइ भइसकेको छैन ।
प्रदेशसभाको पाँचवर्षे कार्यकालमा ७ प्रदेशमा १४ जना मुख्यमन्त्री भएका छन् । मुख्यमन्त्री भएका अन्यको भोगाइ पनि राउतको भन्दा फरक छैन । प्रदेश संरचना अनावश्यक भार बनेको, सरकारहरूले काम गर्न नसकेको, हैसियतभन्दा ठूला र महत्त्वाकांक्षी सपना बाँडेको जस्ता आरोप खेप्नुपरे पनि पहिलो कार्यकालमा प्रतिकूलताबीच संघीयताको जग हाल्ने काम गरेको मुख्यमन्त्रीहरूको भनाइ छ ।
पाँच वर्ष अवधिमा ७ प्रदेशमा ४ सय ३७ कानुन निर्माण भएका छन् । प्रदेश १ बाहेक सबै प्रदेशले प्रदेशको नामकरण गर्नुका साथै स्थायी राजधानी तोकेका छन् । प्रदेश लोक सेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया पनि धमाधम सुरु भएको छ । ६५ दिन मात्र प्रदेश १ को मुख्यमन्त्री बनेका भीम आचार्यले छोटो समयमा प्रदेश सरकारका अप्ठ्याराहरू अनुभूत गर्ने अवसर पाएको बताए । ‘मैले छोटो समयमा प्रदेश खेलकुद परिषद् र पर्यटन बोर्डजस्ता संरचना स्थापनादेखि जनतालाई थप आर्थिक भार नहुने गरी छुटेका क्षेत्रलाई समेटर राजस्व वृद्धि गर्ने कामको थालनी गरेको थिएँ,’ उनले भने, ‘यही अवधिमा संघीय सरकारको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबाट अधिकार आफ्नै हातमा राख्ने, प्रदेशमा कुनै चीज चुहिन नदिने मानसिकता पनि अनुभव गर्न पाइयो ।’
प्रदेशसभाको पहिलो कार्यकालमा प्रायः सबै मुख्यमन्त्रीको साझा गुनासो रह्यो– संघीय सरकारले सहयोग गरेन । मुख्यमन्त्री भएका १४ मध्ये चार जना प्रदेश १ का भीम आचार्य, वाग्मतीका राजेन्द्रप्रसाद पाण्डे, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र कर्णालीका महेन्द्रबहादुर शाही संघीय संसद् सदस्यमा निर्वाचित भएका छन् । संघीय सरकार र संसद्ले अधिकार कुण्ठित गरेको भन्दै गुनासो गर्ने उनीहरू अहिले गुनासो समाधान गर्ने ठाउँमा पुगेका छन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले त अधिकार प्राप्तिका लागि संघीय सरकारविरुद्ध मुख्यमन्त्रीहरूको मोर्चाबन्दीको नेतृत्व गरेका थिए । उनको संयोजनमा ०७५ भदौ २१ मा पोखरामा मुख्यमन्त्रीहरूको भेला भएको थियो । ‘संघले प्रदेशका एकल अधिकारमाथि कुल्चेर कानुन बनाउने काम गर्‍यो, प्रदेशले राम्रो काम गर्न खोज्दा पनि असहयोग भयो,’ उनले भने, ‘त्यो अवस्था अहिले पनि छ, म यसविरुद्ध सशक्त रूपमा आवाज उठाउनेछु ।’
गुरुङको विचारमा प्रदेश तह बलियो हुन नसक्नुको प्रमुख कारण संघीय सरकारले प्रदेशलाई स्वायत्त रूपमा काम गर्न नदिनु हो । केन्द्रबाट बर्सेनि अनुदान पठाउनेभन्दा पनि प्रदेशका अधिकार स्वतन्त्र रूपमा उपभोग गर्न दिएर आत्मनिर्भर बनाउन सहजीकरणको भूमिका खेल्नुपर्ने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध र सहअस्तित्वलाई बलियो बनाउने गरी कानुन निर्माण गर्नुपर्ने उनले बताए । ‘हामीले थुप्रै प्रतिकूलताबीच कानुन र संरचना निर्माण गरेर ट्र्याक खोलेका छौं, अब आउने सरकारले त्यसलाई पिच गरेर सावधानीपूर्वक यात्रा गरे पुग्छ,’ उनले भने ।
करिब एक वर्षअघि वाग्मतीका मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारलाई भर्खरै जन्मेको शिशुको संज्ञा दिँदै यसको वृद्धि–विकासमा नकारात्मक असर परिरहेको बताए । संघीयताको मर्मअनुसार
संघले अधिकार र स्रोत नदिँदा प्रदेश सरकार कमजोर अवस्थाबाट गुज्रिरहेका उनको
भनाइ छ । ‘कमजोर सरकार चलाउँदाको अवस्था के हुन्छ भन्ने कुरा मैले राम्ररी अनुभूत गरेको छु, संघीयतालाई बलियो बनाउने हो भने अब प्रदेश सरकारलाई सबल बनाउनुपर्छ,’ उनले भने ।
एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डे धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशको मुख्यमन्त्रीबाट संघीय संसद्को सदस्य बनेपछि प्रदेशका संवैधानिक अधिकार दिलाउन भूमिका खेल्ने उनले बताए ।
‘संघीय सरकार र संसद्ले प्रदेशलाई आवश्यक अधिकार र कानुन नदिँदा संघीयता कमजोर भएको कुरामा मैले संसद् र सरकारलाई कन्भिन्स गराउन प्रयत्न गर्नेछु,’ उनले भने ।
वाग्मतीका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारमाथि प्रश्न उठाउनु संविधानविरोधी अभिव्यक्ति भएको बताए । ‘प्रदेश सरकार चाहिँदैन भन्नु संघीयता चाहिँदैन भन्नु हो,’ उनले भने, ‘प्रदेश सरकार नरहे यो संविधान पनि रहँदैन ।’ उनले संघ र स्थानीय सरकारको पुलका रूपमा प्रदेश सरकार भएकाले यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए ।
िि
िप्रदेशसभाको दोस्रो निर्वाचनबाट प्रदेशमा नयाँ सरकार निर्माणको बाटो खुलेको छ । अघिल्लो कार्यकालमा मुख्यमन्त्री भएका १४ जनामध्ये ४ जना प्रतिनिधिसभामा निर्वाचित भएका छन् । कर्णालीका जीवनबहादुर शाही, मधेसका लालबाबु राउत र प्रदेश १ का राजेन्द्र राई प्रदेशसभामा दोहोरिएका छन् । बाँकी ७ जना सांसद बन्न असफल भएका छन् । लुम्बिनीका कुलप्रसाद केसी र सुदूरपश्चिमका त्रिलोचन भट्टलाई माओवादीले टिकट दिएर पनि खोसेको थियो भने प्रदेश १ का शेरधन राई र लुम्बिनीका शंकर पोख्रेल पराजित भएका छन् । वाग्मतीका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य तथा गण्डकीका कृष्णचन्द्र पोख्रेल निर्वाचन प्रक्रियामा सहभागी हुनै चाहेनन् ।
राष्ट्रिय सभा सदस्यसमेत रहेका संघीयताविद् खिमलाल देवकोटा मुख्यमन्त्रीको अनुभव बोकेर संघीय संसद्मा जाने सांसदको भूमिकाले केही हदसम्म प्रदेश तहको भविष्य निर्धारण हुने बताउँछन् । हिजो मुख्यमन्त्री हुँदा केन्द्रसँग गुनासो गर्नेहरूले अब संघीय संसद्मा पुगेपछि प्रदेशलाई बलियो बनाउनका लागि के कस्तो भूमिका खेल्छन् भन्नेले निकै महत्त्व राख्ने उनको भनाइ छ । ‘पहिलो कार्यकाललाई फर्केर हेर्दा प्रदेश तह बलियो बनाउन र संघीयता कार्यान्वयन गर्न संघीय सरकारको सकारात्मक भूमिका आवश्यक छ भन्ने स्पष्ट भएको छ,’ उनले भने, ‘प्रदेशका कतिपय आफ्नै कमजोरी पनि सच्याउन आवश्यक छ ।’ प्रदेश तहलाई बलियो बनाउन चुस्त मन्त्रिपरिषद् र सबल कर्मचारीतन्त्रको आवश्यकता रहेको उनले बताए ।
प्रदेश तहले पहिलो कार्यकालमा संघीय सरकारको असहयोग मात्र खेप्नुपरेन, आफैंमा राजनीतिक सौदाबाजी र सत्ताको अस्वस्थ खेलमा रुमल्लिनुपर्‍यो । संसदीय मर्यादाविपरीत फ्लोर क्रस गर्ने, सांसदलाई बन्धक बनाउने, पार्टीद्वारा कारबाही गर्नेलगायत घटनाले प्रदेशसभालाई आलोचित बनायो । सात वटै प्रदेशसभामा गरी २९ जनाले कार्यकाल पूरा गर्न पाएनन् । तीमध्ये १९ सांसदले निर्वाचित भएको दल त्यागेका कारण पदमुक्त हुनुपर्‍यो । सांसद विकास कोषको नाममा बजेटको दुरुपयोगदेखि आसेपासे र कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर आर्थिक लाभ लिनेसम्मका आरोप सांसदले खेप्नुपर्‍यो ।
यी विकृतिले प्रदेश सरकारको पहिलो कार्यकाल आक्षेपमुक्त हुन नसकेको मुख्यमन्त्रीहरू नै बताउँछन् । ‘बनाएको बाटोमा हिँड्न सजिलो हुन्छ तर बाटो बनाउँदा केही अवरोध अवश्य आउँछन्, त्यसमाथि संघीय सरकारले पनि काम गर्ने वातावरण दिनुको साटो अवरोध गरिरह्यो,’ मधेसका मुख्यमन्त्री राउतले भने, ‘तैपनि हामीले संघीयताको जग हालेका छौं, यसलाई बलियो बनाउने काम अब बन्ने केन्द्र र प्रदेश सरकारको हातमा छ ।’
राउतले भनेझैं प्रदेश सरकारलाई संविधानप्रदत्त अधिकार उपभोगमा पनि संघीय सरकारले अवरोध गरिरह्यो ।
मधेस प्रदेशले ०७५ पुस १५ मा जारी गरेको ‘प्रदेश प्रहरी ऐन’ ४ वर्ष बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशले बनाएका प्रहरी ऐन पनि अहिलेसम्म कार्यान्वयन भएका छैनन् । यसको एउटै कारण हो– संघीय सरकारले आफैंले बनाएको प्रहरी कर्मचारी समायोजन ऐनअनुसार प्रहरी समायोजन नगर्नु । संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेशको एकल अधिकार क्षेत्रमा राखिएको छ तर संघीयतालाई गतिशील बनाउने महत्त्वपूर्ण कानुनलाई संघीय सरकारले रोकेर राखिदिएको छ ।
सिंहदरबारले प्रदेशका अधिकारमाथि अंकुश लगाउँदा कतिपय जरुरी कानुनसमेत बन्न सकेका छैनन् । ‘संविधानले दिएको अधिकारअनुसार कानुन बनाउँदा पनि त्यसलाई कार्यान्वयन हुनबाट रोकियो,’ मधेस प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले अनुभव सुनाउँदै भने, ‘प्रदेशका अधिकारलाई अंकुश लगाएर सिंहदरबारमै केन्द्रित गर्दा संघीयता थप कमजोर भएको छ ।’
प्रदेश प्रहरी ऐन कार्यान्वयन नहुँदा प्रदेशको समग्र शान्तिसुरक्षा टाढाको कुरा, प्रदेश सरकारसमेत संघीय प्रहरीको सुरक्षामा बस्नुपर्ने अवस्था छ । प्रदेशका आन्तरिक मामिलामन्त्रीहरूले ‘सिपाहीबिनाको सेनापति’ बनेको गुनासो गर्दर् ैआएका छन् । ‘हामीले संविधानअनुसार प्रदेशमा आफ्नै प्रहरी गठन गर्नका लागि कानुन निर्माण गरिरहेका छौं तर संघीय सरकारले प्रहरी हस्तान्तरण गर्न चाहिरहेको छैन,’ कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही भन्छन्, ‘प्रदेश सरकार भनिएको छ तर
आफ्नै प्रहरी छैन । यो त संघीयताको उपहास भयो ।’
िि
िसंघीय सरकारले वनसम्बन्धी प्रदेशका अधिकारलाई पनि आफूतिर खिचेको छ । संविधानले राष्ट्रिय वनको व्यवस्थापन, काठलगायतका वन पैदावार संकलन र बिक्रीवितरणको अधिकार प्रदेश सरकारमातहत राखेको छ । यही अधिकारलाई स्थापित गर्न सात वटै प्रदेशमा वन मन्त्रालय र त्यसअन्तर्गत प्रदेश वन निर्देशनालय स्थापना गरिएका छन् । निर्देशनालयअन्तर्गत डिभिजनल वन अधिकृत (डीएफओ) छन् ।
उपसचिव तहका डीएफओहरू नेपाल सरकारका कर्मचारी हुन् तर उनीहरूको सरुवा प्रदेशको वन मन्त्रालयले गर्छ । सरकारले संघीय मन्त्रालयमातहत रहने वन तथा भू–संरक्षण विभागको महानिर्देशकलाई शक्तिशाली बनाउने गरी वन नियमावली स्वीकृत गरेको छ । वन नियमावली २०७९ को दफा २६ को १ (क) मा २५ लाख रुपैयाँभन्दा बढी मूल्यको वन पैदावारको लिलाम बिक्री स्वीकृत गर्ने अधिकार विभागको महानिर्देशकलाई तोकिएको छ । प्रदेशमातहत रहेका डीएफओलाई २५ लाख रुपैयाँसम्मको मात्र वन पैदावार लिलाम स्वीकृत गर्ने अधिकार तोकिएको छ । प्रदेश संरचनालाई बलियो बनाउनुपर्नेमा कमजोर बनाउन खोज्दा झन् द्वन्द्व बढ्ने प्रदेशका एक सचिव बताउँछन् ।
संघीय सरकारले गुठी व्यवस्थापनको अधिकार पनि प्रदेशलाई दिएको छैन । संविधानको धारा २९० (१) मा गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारका सम्बन्धमा संघीय संसद्ले आवश्यक कानुन बनाउने भनिएको छ । अनुसूची ६ मा भने गुठीको व्यवस्थापन प्रदेशको एकल अधिकारमा राखिएको छ । यस हिसाबले संघले कानुन बनाएपछि मात्र प्रदेशले अनुसूचीमा उल्लिखित अधिकार प्रयोग गर्न कानुन
बनाउन पाउँछन् ।
संघीय सरकारले गुठी व्यवस्थापनका आधार
र मापदण्ड नतोक्दा प्रदेशमा गुठी व्यवस्थापनसम्बन्धी कानुन बनेका छैनन् । मधेस प्रदेशको जनकपुर, कर्णाली प्रदेशको दैलेख, सल्यान र लुम्बिनी प्रदेशको प्यूठानमा गुठीका नाममा प्रशस्तै जग्गा
छ । दैलेखमा मात्र करिब ७ हजार ९ सय घरधुरीले २ सय वर्ष पुरानो लालमोहर, सनदका आधारमा महन्त र मुखियालाई तिरो (मालपोत) बुझाउँदै आएका छन् ।
प्रदेशमा करिब साढे ३ सय कानुन बने पनि कार्यान्वयनमा समस्या देखिएको छ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी आर्थिक र सेवा सुविधासम्बन्धी ऐनहरू पूर्ण रूपमा कार्यान्वयन भए पनि अन्य ऐन कार्यान्वयनमा जटिलता देखिएको बताउँछन् । संघीय सरकारको बेवास्ताकै कारण साझा अधिकार सूचीमा
रहेका अधिकांश अधिकार हस्तान्तरण नभएको उनको भनाइ छ । लुम्बिनी प्रदेशमा २५ वटा सिमेन्ट खानी छन् तर प्रदेश सरकारले त्यसबाट राजस्व उठाउन पाएको छैन । संविधानको अनुसूची–६ मा खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी अधिकार प्रदेशको एकल अधिकार सूचीमा राखिएको छ
भने अनुसूची–९ मा खानी तथा खनिजलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखिएको छ ।
‘लुम्बिनी प्रदेशमा खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी ऐन बने पनि कार्यान्वयन हुन सकेको छैन,’ सुवेदीले कान्तिपुरसँग भने, ‘संविधानको अनुसूचीमा रहेका प्रदेशका अधिकार अन्य अधिकार पनि प्रयोगमा आउन नसक्दा संघीयताले सही गति लिन सकेको छैन ।’ उनका अनुसार लुम्बिनी प्रदेश सरकारले ७६ वटा कानुन निर्माण गरेको छ । संघीय सरकारको असहयोग हुँदाहुँदै कानुन निर्माण हुनु सकारात्मक पक्ष रहेको उनले बताए ।
मधेस प्रदेशले त क्षेत्राधिकार मिचिएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट दायर गरेको छ । प्रदेशको क्षेत्राधिकारमा पर्ने वनजंगल व्यवस्थापन संघले निर्णय गरेको, संघीय वन ऐन र नियमावली संविधानसँग बाझिएको, कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गरिसकेको अवस्थामा संघमा पुनः चलाउन पाउने गरी नीतिगत निर्णय गरिएको, संविधानद्वारा व्यवस्था गरिएको प्रदेशको अधिकारक्षेत्रमाथि अनधिकृत हस्तक्षेप हुने गरी प्रहरी जवानको पदपूर्ति गर्न विज्ञापन गरिएको लगायत विषयमा संघीय सरकारविरुद्धका मुद्दा सर्वोच्चमा विचाराधीन छन् ।
प्रदेशहरूले संघीय अनुदानको भरमा बर्सेनि ठूलो आकारको बजेट ल्याउने गरे पनि जनशक्ति र संरचना अभाव हुनुका साथै कानुन निर्माण र कार्यान्वयनमा देखिएको अवरोधले लक्ष्यअनुसार बजेट खर्च हुने गरेको छैन । महालेखा नियन्त्रकको कार्यालयले गत साउनमा उपलब्ध गराएको प्रदेशहरूको खर्चसम्बन्धी विवरणअनुसार आर्थिक वर्ष ०७८/७९ मा वार्षिक विनियोजनको ६९.२३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि कुल २ खर्ब ६४ अर्ब ९१ करोड २० लाख रुपैयाँ बराबरको बजेट छुट्याएका प्रदेशहरूले खर्च भने १ खर्ब ८८ अर्ब १४ करोड ९१ लाख रुपैयाँ बराबर मात्रै गरेका छन् ।
प्रदेशमा पुँजीगततर्फ बढी बजेट विनियोजन गरे पनि खर्च भने कम भएको छ । सबैभन्दा कम विकास खर्च गर्नेमा कर्णाली, मधेस र वाग्मती देखिएका छन् । कर्णालीले ६०.०७ प्रतिशत, मधेसले ६०.९९ प्रतिशत र वाग्मती प्रदेशले ६३.१६ प्रतिशत पुँजीगत खर्च गरेका छन् । त्यसैगरी सुदूरपश्चिमले ६४.२४ प्रतिशत, लुम्बिनीले ७०.१४ प्रतिशत, गण्डकीले ७८.०६ प्रतिशत र प्रदेश १ ले ८९.८२ प्रतिशत विकास खर्च गरेका छन् ।
प्रदेश १ का पूर्वमुख्यमन्त्री आचार्य प्रदेशलाई समृद्ध र सबल बनाउनका लागि संघीय सरकारले उदार भएर संविधानमा उल्लिखित अधिकार उपभोग गर्न दिनुपर्ने बताउँछन् । ‘स्वायत्त रूपमा काम गर्ने वातावरण दिने हो भने प्रदेशले आफ्ना लागि आफैं स्रोत पहिचान, संकलन र परिचालन गर्न सक्छन्,’ उनले भने, ‘अब मैले संघीय संसद् र सरकारलाई त्यस्तो वातावरण निर्माणका लागि सकारात्मक दबाब दिनेछु ।
कर्णाली प्रदेश सरकारका पूर्वअर्थमन्त्री गोपाल शर्माले बजेट पारित भएपछि कानुनले व्यवस्था गरेअनुसार कार्यविधि बन्न नसक्दा कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको अनुभव सुनाए । ‘जेठमा बजेट पारित भएपछि तुरुन्त कार्यविधि बनाएर लागू गर्न सके बजेट धेरै खर्च गर्न सकिन्छ अनि काम देखिन्छ,’ उनले भने ।
मधेस प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता झा प्रदेश सरकारले पहिलो कार्यकालमा संघीयताको जग हालेको र दोस्रो चरणमा कार्यान्वयनको ‘ट्रायल’ (परीक्षण) हुने बताउँछन् । प्रदेशमा बनेका कानुनलाई जनतासँग सही ढंगले जोड्न नसकेमा संघीयतामाथि प्रश्न उठ्ने उनको भनाइ छ ।
‘संघीय सरकारले कानुन निर्माण र कार्यान्वयनमा फेरि पनि अवरोध गरिरहने हो भने प्रदेश सरकार जनतासँग जोडिन सक्दैन, बनेका कानुन
कार्यान्वयन हुन सक्दैनन्,’ उनले भने, ‘त्यसैले अबको कार्यकाल प्रदेश तह सफल हुने कि असफल भन्ने ट्रायल अवधि हो ।’

 

Page 4
वाग्मती प्रदेश

सेवामा नथाकेका पाइला

- ज्योति श्रेष्ठ

(काभ्रे) - काभ्रेको नमोबुद्ध नगरपालिका–८ की बस्तमाया श्रेष्ठको उमेर ७८ वर्ष पुग्यो । महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा उनले गाउँसहर र घरदैलो गर्न थालेकै ३३ वर्ष भइसक्यो । उमेरले आफैं आराम गर्नुपर्ने र स्याहार खोज्ने बेला भइसक्दा अहिले पनि उनी गर्भवती, सुत्केरी तथा शिशुको स्याहार, पोषण, खोप कार्यक्रममा निरन्तर खटिरहेकी छन् । जीवनको ऊर्जाशील समय महिला, बालबालिकाको स्वास्थ्य सेवामा बिताएकी उनलाई ढल्किँदो उमेरमा पनि काम गर्ने जाँगर उस्तै छ ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०७६ (पहिलो संशोधन) अनुसार ६० वर्षमाथिका स्वयंसेविकालाई अनिवार्य सेवा निवृत्त गरिने व्यवस्था छ । सरकार तोकेको उमेर हदको नीतिका कारण उनलाई महिला स्वास्थ्य स्वयंसेविका भएर काम गर्न दिँदैन । तर पनि आफ्नै रहरले सेवामा खटिने हुटहुटी कायमै छ । ‘पहिला स्रोतसाधन नहुँदा त धेरै दुःख गरियो, मोटरबाटो पुगेको थिएन, अहिलेका जस्ता सामानहरू थिएनन्,’ उनले भनिन्, ‘अहिले त बाटोघाटो बनेको छ, मोटर चल्छन्, स्रोतसाधनहरू सजिलै पाइन्छ, धेरै सजिलो छ नि, सजिलो भएको बेलामा काम गर्न नपाइने भयो, काम गर्ने इच्छा त अझै छ ।’
नमोबुद्ध–७ की ६३ वर्षीया मैया परियार पनि अझै स्वयंसेविका भएर काम गर्ने ऊर्जा नघटेको बताउँछिन् । ३० वर्षको उमेरदेखि स्वयंसेविका बनेकी उनले अवसर पाए अझै काम गर्न रहर भएको बताइन् । ‘आफूलाई रहर मात्र भएर पनि भएन, सरकारको नीति पनि मान्नै पर्‍यो,’ उनले सुनाइन्, ‘स्वयंसेविका भएर काम गर्न पाउँदा धेरै कुराहरू सिक्न पाइयो, नयाँ ठाउँहरू घुम्न पाइयो, अब त्यही नै ठूलो कुरा हो हाम्रा लागि, यसैमा चित्त बुझाउनुपर्छ ।’
नमोबुद्ध–७ कै ७४ वर्षीया चन्द्रकुमारी खनाल र ७५ वर्षीया माइली तामाङ पनि उमेर हदले सेवा निवृत्त भइसके । दुवैले कुल ३३ वर्ष स्वयंसेविकाका रूपमा सेवा दिए । ‘हिजोको दिनमा धेरै दुःख गरेका थियौं, टोल–टोलदेखि घर–घरसम्म पुगेर काम गरेका थियौं,’ चन्द्रकुमारीले भनिन्, ‘अझै पनि सेवा गर्ने इच्छा हुँदाहुँदै नीतिका कारण अवकाश हुनुपरेको छ, खुसी नै छौं ।’ स्वयंसेविकालाई तुलनात्मक रूपमा पहिलेभन्दा काममा सहजतासँगै सेवासुविधामा पनि वृद्धि हुँदै गएको माइलीले बताइन् । ‘पहिले तालिम तथा विभिन्न खोप कार्यक्रम भएको दिनमा २० रुपैयाँ भत्ता लिएर काम गरेकोमा अहिले दिनकै ४ सय रुपैयाँ पाइन्छ,’ उनले भनिन्, ‘सेवा सुविधा राम्रो भएकै बेलामा छोड्नुपर्‍यो, दुःख लागे पनि सरकारको नियम मान्नैपर्‍यो नि ।’
बस्तमाया, चन्द्रकुमारी, माइली, मैयाजस्तै ६० वर्षमाथिका २५ जना स्वास्थ्य स्वयंसेविकालाई नमोबुद्ध नगरपालिकाले सम्मान गरेको छ । शुक्रबार नगरपालिकाको ९ औं स्थापना दिवसका अवसरमा उनीहरूलाई कदरपत्र र प्रोत्साहन स्वरूप २० हजार रुपैयाँसहित सम्मान तथा बिदाइ गरिएको हो । ‘महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम चानचुने होइन, त्यसमाथि यतिका लामो समयसम्म,’ नगर प्रमुख कुन्साङ लामाले भने, ‘उहाँहरूको यही योगदानकै कदर गर्दै सम्मान गरेका हौं ।’
स्वयंसेविकाहरूले स्वास्थ्य
क्षेत्रमा उल्लेखनीय कार्य गरेको महिला अधिकारकर्मी कृष्ण प्यारी नकर्मी बताउँछिन् । उनी स्वयंसेविकाहरूलाई नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड मान्छिन् । ‘उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन्,’ उनले भनिन् ।

 

Page 5
अर्थ वाणिज्य

मूल्य तोकेको महिना बित्दा पनि धान किन्न आलटाल

- राजु चौधरी

(काठमाडौं) - किसानलाई उचित मूल्य दिलाउन भन्दै सरकारले ०७९ कात्तिक १६ मा धानको न्यूनतम समर्थन मूल्य तोक्यो । गत वर्षभन्दा प्रतिक्विन्टल २ सय २६ रुपैयाँ बढाएर मध्यम धानको मूल्य ३१ सय २८ रुपैयाँ तोक्यो । मोटा धानमा प्रतिक्विन्टल २ सय १५ रुपैयाँ बढाएर २९ सय ६७ रुपैयाँ निर्धारण गरिएको छ । धानको मूल्य तोकेको महिना बित्दा खरिदमा भने आलटाल भइरहेको छ ।
समर्थन मूल्य कार्यान्वयन गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी हो । तर बजेट निकासा नभएको बहाना बनाउँदै खाद्यले खरिदमा प्राथमिकता दिएको छैन । किसानको धान खरिदमा ढिलाइ भएपछि नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले विरोध गर्दै आएका छन् । यी दुई संस्थाले बुधबार पत्रकार सम्मेलन गरेर विरोध गरे । धान खरिद नभए डिपोहरूमा ताल्चा लगाउने उनीहरूको चेतावनी छ ।
विरोधस्वरूप शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको नेपाल किसान महासंघ अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताए । ‘सरकारले एक त मूल्य तोक्न ढिलाइ गरिदियो, त्यसमाथि तोकिएको मूल्य पनि किसानको पक्षमा छैन । त्यसले किसानको लागत उठ्दैन,’ उनले भने, ‘मूल्य तोकेपछि पनि खरिद गर्नमा आलटाल गरिदियो, किसानहरू व्यापारीलाई बेच्न बाध्य भइरहेका छन् । आफ्नै घोषणा र प्रतिबद्धताअनुसार धान नकिन्नु सरकारको अक्षमताको पराकाष्ठा हो ।’
मंसिर २५ मा खाद्य कम्पनीको शाखा कार्यालयमा धर्ना र तालाबन्दी गर्ने कार्यक्रम रहेको तिमिल्सिनाको भनाइ छ । सरकारले समयमै खरिद नगर्दा किसान प्रतिक्विन्टल ५/६ सय रुपैयाँ सस्तोमा बेच्न बाध्य भएको उनले बताए । किसानको धान खरिद गर्नकै लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहकारी परिचालन गर्ने जनाएको छ । ती सहकारीलाई व्यवस्थापन खर्चस्वरूप प्रतिक्विन्टल १ सय १२ रुपैयाँ दिइने पनि भनेको छ । इच्छुक सहकारीलाई सूचीकृत हुन आह्वानसमेत गरिएको थियो । तर धान खरिद प्रक्रिया सुरु भएन ।
किसानबाट सस्तो मूल्यमा किनिएको धान व्यापारी/बिचौलियाले सरकारसँग भने महँगो मूल्यमा लिने गरेको जानकारहरूको दाबी छ । ‘कृषि मन्त्रालयले समयमै प्रस्ताव गरे पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय हुनै ढिलो भयो । सरकारले मूल्य तोक्दा कतिपय किसानले धान बिक्री सुरु गरिसकेका थिए,’ कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले मूल्य तोकेको महिना दिन बित्यो । कृषिले पनि खरिद प्रक्रिया थालेको छ । तर मुख्य कार्यान्वयन गर्ने निकाय खाद्यले समयमै किनिदिएन ।’
खाद्यले धान किन्न आलटाल गरेको घटना यो पहिलो होइन । सरकारले हरेक वर्ष मूल्य तोके पनि उसले समयमै खरिद गरिदिएको छैन । यस वर्ष बजेटको बहानामा थप ढिलाइ गरिदिएको हो । किसानको हकहित संरक्षण गर्ने नाममा दर्जनौं संघसंस्था सक्रिय छन् । तर तिनले किसानको यस्ता समस्या समाधानमा आवाज उठाएका छैनन् । तिनले
आआफ्नो स्वार्थका काम मात्र गरिरहेको जानकारहरू बताउँछन् । नेपाल किसान महासंघका अध्यक्ष तिमिल्सिनाले पनि एकजुट हुन नसक्दा किसानको आवाज बुलन्द हुन नसकेको स्विकारे ।
खाद्य कम्पनीका प्रमुख कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले भने अर्थ मन्त्रालयले बजेट निकासा नगरिदिँदा धान खरिदमा ढिलाइ भएको बताए । गत वर्ष र यस वर्षसहित ६१ करोड ५४ लाख रुपैयाँ माग गरे पनि निकासा नभएको उनको भनाइ छ । ‘समर्थन र बजार मूल्यबीचको अन्तर मूल्य मागेका थियौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र वाणिज्य तथा आपूर्ति सचिवको सिफारिसमा पत्र पठाए पनि बजेट निकासा भएन,’ चन्दले भने, ‘बजेट निकासा नभए पनि राजापुरमा शुक्रबारबाट किन्न थालेका छौ । धनगढीबाट पनि छिट्टै सुरु हुन्छ ।’
समर्थन मूल्य र खरिद मूल्यबीच अन्तर हुन गए शोधभर्ना उपलब्ध गराउने बजेट वक्तव्यमै उल्लेख छ । बजारमूल्य र समर्थन मूल्यको अन्तर प्रतिक्विन्टल ८ सयदेखि १ हजार रुपैयाँसम्म देखिने चन्दले बताए । खाद्यले प्राथमिक खरिद समितिलाई देखाएर पन्छिन खोजे पनि मोटा र मध्यम धानको मूल्य तोकेको महिना दिन बित्यो । तर सबै डिपोबाट खरिद भएको छैन । खाद्यले राजापुर र धनगढीमा सुरु गर्ने भनिए पनि त्यति प्रभावकारी छैन । राजापुरबाट २० हजार क्विन्टल मोटा र २० हजार क्विन्टल मकवानपुर धान किन्ने लक्ष्य छ ।
शुक्रबार करिब ६ सय क्विन्टल मोटा धान किनिएको मुख्य शाखा कार्यालय राजापुरका प्रमुख धर्मराज पन्तले जनाए । मकवानपुर धानको मूल्य भने प्राथमिक खरिद समितिले तोकिसकेको छैन । खाद्यले धनगढी डिपोबाट ४० हजार क्विन्टल धान किन्ने लक्ष्य राखेको छ । तर खरिद प्रक्रिया सोमबार/मंगलबारदेखि मात्रै हुने कार्यालय प्रमुख इन्जिला बस्नेतको भनाइ छ । ‘केन्द्रबाट भर्खर पत्र आएको छ, धान खरिदका क्रममा गुणस्तर पनि हेर्नुपर्छ,’ उनले भनिन्, ‘सम्भवतः सोमबार, मंगलबारदेखि किन्न थाल्छौं ।’
खाद्यले धान किन्न ढिलाइ गरिदिँदा धेरैजसो किसानको धान व्यापारीले किनिसकेका छन् । किसानको धान व्यापारीले किनेपछि खाद्यले कमिसनमा व्यापारीसँग किन्ने गरेको खाद्यकै अधिकारीहरू बताउँछन् । ‘किसानको पहुँचमा खाद्यको डिपो हुँदैन । डिपोमा काँटा राख्दा गाउँगाउँका किसान बेच्न आउन सक्दैनन्, खाद्यले किन्ने भनेको व्यापारीबाटै हो,’ खाद्यका एक कर्मचारीले भने, ‘छिटो धान खरिद गर्दा गुणस्तरीय हुँदैन, थोरै चामल आउँछ । त्यही भएर पनि ढिलाइ गर्ने गरिएको हो ।’
धान किन्न खाद्य कम्पनीले आन्तरिक बजेटबाट ९८ करोड ९१ लाख र कृषि मन्त्रालयले ३३ करोड बजेट छुट्याएका छन् । कृषिले न्यूनतम समर्थन मूल्यमा धान किन्ने सहकारीलाई प्रतिक्विन्टल १ सय १२ रुपैयाँका दरले व्यवस्थापन खर्च उपलब्ध गराउन ३३ करोड छुट्याएको छ । तर सहकारीले पनि इच्छा देखाएको छैन । ‘सहकारीमार्फत सूचना प्रकाशन गरेपछि प्रक्रिया बुझ्न धेरै सहकारी आए । तर व्यवस्थापन खर्च कम हुँदा आकर्षण देखिएन, सूचीकृत थोरै मात्र भए,’ कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘घाटा हुने देखेर गत वर्षभन्दा कम सहकारी इच्छुक छन् । सूचीकृत भएका सहकारीले पुसबाट किन्छन् ।’

अर्थ वाणिज्य

देशविदेशमा जुम्लाका उत्पादन

- डीबी बुढा

(जुम्ला) - ‘जुम्ला घर अर्गानिक्स एन्ड सुपर फुड्स’ मार्फत गत वर्ष जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्यान्न क्यानडा पठाइयो । कम्पनीका सञ्चालक राज शाहीले चितवन स्थायी घर भएका पूर्ण कँडेलसँग सहकार्य गरी जुम्ली उत्पादन क्यानडाका विभिन्न सहरमा पठाएका थिए । कँडेल लायम कर्पोरेसन क्यानडाका प्रमुख हुन् ।
कम्पनीले यस वर्ष १ टन सिमीको दाल र १ टन मासको दाल जापानका बजारमा पनि पठाएको छ । शाहीले १० किलो स्याउको चाना पनि जापान गइसकेको जानकारी दिए । उपहार र कोसेलीका रूपमा पहिले पनि जुम्लाको उत्पादन जापान र क्यानडामा पुगिरहेको छ । गत वर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात भएको कँडेलको भनाइ छ । जुम्लाघर अर्गानिक्सले कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाइरहेको छ ।
तातोपानी–४ गिडीखोलाका ऋषिराम पाण्डे पनि गत भदौ १२ मा थाइल्यान्ड जाँदा झन्डै एक टन स्याउका चाना र खरायोको ऊनबाट बनेका एक सय टोपी लिएर गएका थिए । एसियन क्रेडिट युनियन फर्म–२०२२ मा भाग लिन जाँदा आफूले थाइल्यान्डको बैंककमा जुम्लाका उत्पादन कोसेलीका रूपमा लगेको उनको भनाइ छ । ‘सम्मेलनमा विभिन्न १६ देशका प्रतिनिधि भेला भएका थिए, स्याउको चानाको स्वाद सबैले लिए,’ उनले भने, ‘केही साथीले अर्डरसमेत गरिसकेका छन्, कसरी पठाउने भनेर माध्यम खोजिरहेको छु ।’ जुम्लाका हरेक उत्पादनको माग विदेशमा तीव्र भए पनि बर्सेनि उत्पादन घट्दै जानु र व्यावसायिक उत्पादन नहुनु विडम्बना भएको उनले बताए । जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ । गत वर्ष पनि ४० क्विन्टल जुम्ली मार्सी चामल अमेरिका पठाइएको शाहीले जनाए । ‘माग उच्च छ तर आयातित खाद्यान्नका कारण किसानले खेतीपातीलाई महत्त्व दिइरहेका छैनन्,’ उनले भने, ‘व्यावसायिक उत्पादन भए जुम्लाका उत्पादन सबै विदेशमा पठाएर पनि ठूलो रकम भित्र्याउन सकिन्छ ।’ धेरै परिणाममा नभए पनि अस्ट्रेलिया, जर्मनी, बंगलादेश, बेलायतलगायत देशमा विभिन्न उत्पादन पठाइरहेको उनको भनाइ छ । मार्सी चामल, ओखर, सिमी, स्याउको चाना, चिनो र कागुनो ती देशहरूमा गइरहेको हो ।
खलंगास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौंसम्म पठाइरहेको छ । गत वर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करिब ३० टन स्याउ बंगलादेश पठाएको थियो । बाहिरबाट आउने खाद्यान्नका कारण रैथाने बाली उत्पादनमा गिरावट आइरहेको स्थानीय किसान जीवनबहादुर बुढाले बताए । ‘रैथाने बालीमा रोग किराको प्रकोप पनि धेरै छ, उत्पादन पनि सोचेअनुसार हुँदैन,’ उनले भने, ‘त्यसैले उन्नत जातका बालीहरू लगाउनुपर्ने बाध्यता छ ।’
जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा मार्सी धान लगाइन्छ भने उत्पादन बर्सेनि ६ हजार १ सय २७ टन हुने गरेको छ । त्यस्तै यो वर्ष चिनो ६५, कागुनो १५, सिमी ४ सय ७१ टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जुम्लाको ३४ हजार ४ सय ८६ हेक्टर क्षेत्रफलमा कृषि खेती हुन्छ । जुम्लाको उत्पादनले अर्गानिक प्रमाणीकरण नपाउँदा विदेशी बजारमा सहजै लैजान समस्या भएको कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । ‘अहिलेसम्म यहाँका उत्पादन क्यानडा, अस्ट्रेलिया र जापानमा ठूलो परिणाममा गइरहेका छन्,’ उनले भने, ‘अरु देशमा पठाउन पनि संघीय सरकारले पहल गर्न आवश्यक छ ।’ कार्यालयले काठमाडौंसम्म पठाउन मात्र सिफारिस दिन्छ । विदेश लैजानका लागि कृषि मन्त्रालय र क्वारेन्टाइनको सिफारिस चाहिने उनले जानकारी दिए ।

अर्थ वाणिज्य

मध्यमर्स्याङ्दीको उत्पादन घट्यो

- कान्तिपुर संवाददाता


लमजुङ (कास)– देशकै ठूलोमध्येको एक मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन घट्न थालेको छ । ७० मेगावाटको यो आयोजनाबाट औसत ६० मेगावाट बिजुली उत्पादन भइरहेको छ । एक सातादेखि उत्पादन घट्दै गएको केन्द्रले जनाएको छ । मर्स्याङ्दीमा पानीको बहाव कम हुन थालेपछि आयोजनाले पूर्ण क्षमतामा ‘लोड’ दिन नसकेको हो । हिउँ पग्लिएर बग्ने भएकाले मौसम चिसिएसँगै हिउँ पग्लिन कम हुँदा पानीको बहाव पनि कम भएको हो । बेंसीसहर नगरपालिका–१ उदीपुर चिप्लेटीमा बाँध बाँधेर सुन्दरबजार नगरपालिका–९ सिउँडीबारमा मध्यमर्स्याङ्दीले विद्युत्गृह निर्माण गरी उत्पादन गरिरहेको छ । नदीमा पानीको बहाव कम हुँदै गएपछि उत्पादन क्रमशः घट्दै गएको केन्द्र प्रमुख पवन बस्नेतले बताए । यो क्रम माघ–फागुनसम्म चल्छ । त्यसपछि उत्पादन विस्तारै बढ्दै जाने उनको भनाइ छ ।
आयोजनामा ३५ मेगावाटका २ वटा टर्बाइन छन् । ‘अहिले औसतमा ६० मेगावाट छ । रातिको ५/६ घण्टा एउटा टर्बाइन मात्रै सञ्चालन हुन्छ । एउटा मात्रै टर्बाइन सञ्चालन हुँदा ३५ देखि ३६ मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । भारप्रेषण केन्द्रले उसको आवश्यकताअनुसार ‘लोड’ तलमाथि गर्ने उनले बताए । माघमा २२ हजार मेगावाट आवर र फागुनमा २१ हजार मेगावाट आवरमा विद्युत् उत्पादनको प्रक्षेपण गरिएको छ । कात्तिकमा ४० हजार मेगावाट आवरमा विद्युत् उत्पादन भएको उनले जनाए । मंसिरमा ३६ हजार मेगावाट आवर प्रक्षेपण गरिएको बस्नेतले बताए । आयोजनलाई यस वर्ष बृहत् मर्मत गरिने भएको छ । यसमा ओभरहेलिङको काम हुनेछ । सिभिलतर्फ ड्यामसाइटका साथै पावरहाउसभित्रको टर्बाइनलगायत मर्मत गरिनेछ ।

Page 6
समाचार

सांसदको अवैध पार्टी प्यालेस जोगाउन प्रहरी सक्रिय

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सांसदको अवैध पार्टी प्यालेस जोगाउन प्रहरी नै खुलेर लागेको छ । लैनचौरस्थित स्काउटको जग्गामा सञ्चालित लैनचौर ब्यांक्वेटमा आएका व्यक्तिको गाडी बाहिर निकाल्न प्रहरीले शुक्रबार स्काउट गेटको ताला नै तोडेको छ । यो ब्यांक्वेट संखुवासभाबाट प्रतिनिधिसभा सदस्य कांग्रेसका दीपक खड्काको हो ।
स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच ३ रोपनी जग्गा १० वर्षका लागि प्रयोग गर्न दिने सम्झौता ०६५ मा भएको थियो । उच्च अदालत पाटनले गत असार १३ मा सम्झौता खारेज गरिदिएको थियो । तर, त्यसयता पनि ब्यांक्वेट अवैध सञ्चालनमा छ । खड्काले पार्टी प्यालेसबाहेक ७ रोपनी जग्गा जबर्जस्ती पार्किङका लागि प्रयोग गर्दै आएको स्काउटले जनाएको छ ।
पार्टी प्यालेस छिर्न खड्काले छुट्टै गेट बनाएका छन् । शुक्रबार पार्टी प्यालेसमा विवाह कार्यक्रम थियो । स्काउटको गेट बन्द भएपछि पार्टी प्यालेसमा आउने व्यक्तिले सवारीसाधन बाहिर निकाल्न असहज भएको भन्दै सांसद खड्कालाई लिखित दबाब दिएपछि उनकै सक्रियतामा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले स्काउटको गेटको ताला तोडेको हो । गेटनजिकै स्काउटको ११ देखि १६ वर्षसम्मको पेट्रोल लिडर तालिम क्याम्प चलिरहेको छ । जहाँ १३ वटा विद्यालयका बालबालिका सहभागी छन् । सोह्रखुट्टे वृत्तका प्रहरी नायब उपरीक्षक गणेश बमले पार्टी प्यालेसले गेट खुलाइपाऊँ भन्दै निवेदन दिएकाले ताला फुटाएको बताए । ‘ब्यांक्वेट र स्काउटबीचको विवाद पहिलादेखिकै हो । विगतमा खुला भएको गेट बन्द भएको भन्दै निवेदन आएपछि हामीले खुलाएका हौं,’ उनले भने, ‘अदालतको आदेशमा के छ, त्यो त हामीलाई थाहा छैन ।’
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलले स्काउट र खड्काबीच भवन भाडामा लिनेसम्बन्धी ०६२ पुस ४ मा भएको करार सम्झौताबाहेक त्यसपछि भएको सम्झौतालाई वैधता दिने फैसला ०७६ असार १८ मा गरेका थिए । उच्च अदालत ललितपुरले भने जिल्ला अदालतले गरेको आदेश नमिलेको भन्दै गत असार १३ मा बदर गरिदिएको थियो ।
गृह मन्त्रालयले खुला (सुरक्षित) क्षेत्रका रूपमा
छुट्याएको स्काउट परिसरको जग्गा व्यापारीलाई न्यून रकम लिने गरी वर्षौंसम्म भाडामा लगाइएको हो । सांसद खड्काले स्काउटको हकभोग रहेको दुईवटा भवनमध्ये ३६ कवलको भवन ०७३ चैत १८ मा र १२ कवलको भवन ०७४ फागुन २० मा सम्झौता गरी १० वर्षका लागि भाडामा लिएका थिए । खाली ७ रोपनीमा भाडासमेत नतिरी पार्किङ सञ्चालन गरेको स्काउटले जनाएको छ । पार्किङ गरेबापत सर्वसाधारणले भने शुल्क तिर्नुपर्छ ।
स्काउटले अवधि सकिएको भन्दै ३ रोपनी जग्गामा रहेको पार्टी प्यालेस खाली गराउन भन्दै ०७५ फागुनमा पत्रसमेत दिएको थियो ।

Page 7
खेलकुद

टाइब्रेकरमा क्रोएसियाको भाग्य

- कान्तिपुर संवाददाता

(दोहा) - ब्राजिलले सन् २००२ को फाइनलमा जर्मनीलाई २–० ले पराजित गर्दै कीर्तिमान पाचौंपल्ट विश्वकपको उपाधि जितेपछि नकआउट चरणमा युरोपेली टिमलाई हराउन सकेको छैन । यसले कतारमा पनि निरन्तरता पायो । यसपालि ब्राजिललाई क्वाटरफाइनलमा सिकार बनाउने टिम रह्यो क्रोएसिया । चार वर्षअघिको उपविजेता क्रोएसियाले उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिललाई एजुकेसन सिटी स्टेडियममा शुक्रबार निर्धारित समयमा गोलरहित रोकेको थियो । ३० मिनेटको अतिरिक्त समय १–१ मा टुंगिएपछि क्रोएसिया टाइब्रेकरमा ४–२ ले ब्राजिलको चुनौती समाप्त पार्दै विश्वकप २०२२ को सेमिफाइनल पुग्ने पहिलो टिम बनेको हो ।
क्रोएसियाको जितमा घरेलु क्लब डिनामो जाग्रेबका २७ वर्षीय गोलकिपर डोमिनिक लिभाकोभिचले फेरि एकपल्ट उत्कृष्ट प्रदर्शन गरे । अन्तिम १६ मा जापानविरुद्ध टाइब्रेकरमा हात पारेको जितमा दुई पेनाल्टी रोकेका उनले दोस्रो हाफ र अतिरिक्त समयमा नेयमर, रिचार्लिसन, कासेमिरोका शृंखलाबद्ध आक्रामण पालैपालो निस्तेज पारेका थिए । उनले पेनाल्टी सुटआउटमा ब्राजिलको पहिलो प्रहारमै आएका रियल म्याड्रिडका २१ वर्षीय फरवार्ड रोड्रिगोले प्रहार गरेको बल बायातर्फ डाइभ गर्दै रोकेर क्रोएसियाको जितको आधार तय गरिदिए ।
क्रोएसियाका चारै खेलाडी निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचको प्रहार सटिक रह्यो । त्यसैले ब्राजिलको चौथो प्रहारमा आएका मारक्विन्होजले हानेको बल पोलमा लागेर फर्किएपछि टाइब्रेकरमा ४–२ को जित रच्दै क्रोएसिया तेस्रोपल्ट विश्वकपको अन्तिम चारमा प्रवेश गर्यो । सन् २०१८ को फाइनलमा फ्रान्ससँग ४–२ ले हारेको क्रोएसिया १९९८ मा पनि सेमिफाइनल पुगेको थियो । क्रोएसियाले जतिपल्ट समूह चरण पार गरेको छ, त्यति नै पल्ट विश्वकपको सेमिफाइनल यात्रा गरेको छ ।
रोनाल्डो, रिभाल्डो, काफु, रोबर्टो कार्लोस, रोनाल्डिन्होको उत्कृष्ट प्रदर्शनमा दुई दशकअघि विश्वकप विजेता भएपछि ब्राजिलको भने आफैंले आयोजना गरेको संस्करण (२०१४) बाहेक सबैमा क्वटरफाइनलबाटै बाहिरिने क्रम रोकिएन । उसले सन् २००६, २०१०, २०१८ हँॅदै २०२२ मा आएर पनि अन्तिम आठमा हार बेहोरेको हो । युगोस्लाभियाबाट टुक्रिएर स्वतन्त्र राज्यको रूपमा स्थापित क्रोएसियाविरुद्ध ब्राजिलले विश्वकपमा पहिलो हार बेहोरेको हो । यसअघिका दुई खेल ब्राजिलले जितेको थियो ।
आठ वर्षअघि समूह चरणमा ब्राजिलले क्रोएसियालाई ३–१ ले पराजित गर्दा नेयमरले दुई गोल गरेका थिए । कतारमा पनि नेयमरकै उत्कृष्ट गोलमा ब्राजिल सेमिफाइनल नजिक पुगेको थियो । उनले लुकास पाक्वेएटाले दिएको बलमा राम्रो मुभ बनाउँदै गोलकिपर लिभाकोभिचलाई छक्याएर आकर्षक गोल गरी अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा ब्राजिललाई १–को अग्रता दिलाएका थिए । यससँगै नेमयरले ब्राजिलका लागि सबैभन्दा बढी गोल गरेका पेलेको ७७ गोलको कीर्तिमान पनि बराबरी गरे ।
खेल सकिन १५ मिनेट बाँकी थियो, जसमा क्रोएसियालाई रोक्न सके ब्राजिल सेमिफाइनल पुग्न सक्थ्यो । तर, नेयमरले दिलाएको अग्रता धेरैबेर टिकेन । ओर्सिचको पासमा ब्रुनो पेट्कोभिचले पेनाल्टी क्षेत्रको ठीकभित्रबाट प्रहार गरेको बल ब्राजिली डिफेन्डरमा डिफ्लेक्ट हँॅदै जाली चुम्न पुगेपछि क्रोएसियाले ११७ औं मिनेटमा १–१ को बराबरी गर्‍यो । त्यसमा गोलकिपर एलिसन बेकरको केही सीप चलेन । अतिरिक्त समयको अन्तिम क्षणमा कासेमिरोले प्रहार गरेको बल लिभाकोभिचले नरोकेको भए खेलको कथा फरक हुनसक्थ्यो । पेनाल्टी शुटआउटमा कासेमिरो र पेड्रोले मात्रै गोल गर्न सके ।
क्रोएसिया केही हदसम्म टाइब्रेकरमा भाग्यमानी टिम हो । उसले २०१८ मा पनि अन्तिम १६ मा डेनमार्क, क्वाटरफाइनलमा आयोजक रुसलाई टाइब्रेकरमा पराजित गरेको थियो भने सेमिफाइनलमा इंग्ल्यान्डलाई अतिरिक्त समयमा २–१ ले हराएर पहिलोपल्ट फाइनलमा स्थान बनाएको थियो । क्रोएसियाले मुख्य प्रतियोगितामा पछिल्ला नौमध्ये आठ खेल अतिरिक्त समयसम्म खेलेको हो । उसले कतार संस्करणमा फाइनल प्रवेशका लागि अर्जेन्टिना वा नेदरल्यान्ड्सविरद्ध प्रतिस्पर्धा गर्नेछ ।

खेलकुद

एमबाप्पेविरुद्ध जोसिलो इंग्ल्यान्ड

- कान्तिपुर संवाददाता

दोहा (एएफपी)– डिफेन्डिङ च्याम्पियन फ्रान्सले क्वाटरफाइनलमा शनिबार प्रतिस्पर्धा गर्दा सुपर स्टार केलियन एमबाप्पेको भेट युवा जोसले भरिएको इंग्ल्यान्डको आक्रामक टोलीसँग हुनेछ ।
युरोपका यी दुई शक्तिशाली राष्ट्र ३२ किलोमिटर फरकमा छन् । यिनीहरू प्रमुख प्रतियोगितामा यसअघि दुई पटकमात्र आमनेसामने भएका छन् । अझ रोचक के भने यी दुवै सन् १९८२ यता ठूलो प्रतियोगितामा भेट भएका छैनन् ।
चार वर्षअघि रुसमा दोस्रो पटक विश्वकप जितेको फ्रान्सले अन्तिम १६ मा पोल्यान्डलाई पराजित गर्दा पेरिस सेन्ट जर्मेनका फरवार्ड एमवाप्पेले २ तथा ओलिभर जिरुडले १ गोल गरेका थिए । कमजोर सुरुआत गरे पनि इंग्ल्यान्डले सेनेगलको चुनौती सजिलै ३–० ले पाखा लगाउँदै फ्रान्ससँगको भेट पक्का गरेको हो ।
२३ वर्षे एमबाप्पे कतार विश्वकपका उच्च गोलकर्ता हुन् । उनले ४ खेलमा ५ गोल गरिसकेका छन् । पोल्यान्डविरुद्धको खेलमा गोल गर्दै जिरुड फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । अल बायत रंगशालामा हुने खेलमा निकै उच्च लयमा रहेका एमबाप्पेलाई इंग्ल्यान्डले कसरी रोक्न सक्छ ? मुख्य प्रश्न यही बनेको छ ।
इंग्ल्यान्डका तीव्र राइट ब्याक केएल वाल्करले सम्भवतः एमबाप्पेलाई रोक्ने जिम्मेवारी पाउनेछन् । तर इंग्ल्यान्डको टोली फ्रान्सका आक्रामक उनीमात्र होइनन् भन्नेमा स्पष्ट छ । ‘मलाई थाहा छ उनी विश्वस्तरीय खेलाडी हुन्, तर हामी टेनिस खेल्न लागिरहेका छैनौं । यो एकल खेलिने खेल होइन, यो टिम गेम हो,’ म्यानचेस्टर सिटीका रक्षक वाल्करले भने, ‘उनी महान् खेलाडी हुन्, त्यसैले सबै प्रश्न उनीसँग सम्बन्धित आएका छन् । तर जिरुडलाई पनि बिर्सनुहुन्न, उनले लगातार जस्तो गोल गर्दै आएका छन् । मेरा लागि ओसमन डेम्बेले अन्य विंगरजस्तै राम्रा छन् ।’
घाइतेद्वय एनगोलो कान्टे र पाउल पोग्बाको अनुपस्थितिमा पनि फ्रान्सका मिडफिल्डरले राम्रो प्रभाव देखाएका छन् । एन्टोनी ग्रिजमनले प्रभावशाली देखिएका छन् । त्यसका बावजुद पनि डिडियर डेसच्याम्पको टोलीमा राइट ब्याकको भूमिका सम्भावित कमजोर रूपमा देखिएको छ । जुल्स कोउन्डे र थियो हर्नान्डेज जसले फ्रान्सको राइट ब्याकको भूमिका निभाए पनि मार्कस रासफोर्ड, फिल फोडेन, बुकायो साका, ज्याक ग्रेलिस, रहिम स्टर्लिङ जस्ता विंगरको सामना गर्नुपर्ने हुन्छ । इंग्ल्यान्ड यस प्रतियोगितामा सर्वाधिक १२ गोल गर्ने टोली हो, त्यसले पनि टोलीको अग्रपंक्तिको शक्ति प्रमाणित गर्छ । इंग्ल्यान्डसँग बेन्चमा पनि राम्रा विकल्पहरू छन् ।
तर, इंग्ल्यान्डका व्यवस्थापक गारेथ साउथगेटमाथि प्रमुख खेलमा प्रदर्शन देखाउन नसकेको भनेर धेरै प्रश्न पोखिएका छन् । चार वर्षअघि विश्वकप सेमिफाइनलमा पराजित इंग्ल्यान्ड अघिल्लो वर्ष युरो २०२० को फाइनलमा इटालीसँग पेनाल्टी शुटआउटमा हारेको थियो ।

इतिहासतिर लम्कँदै मोरक्को
पोर्चुगलमाथि शनिबार हुने खेलमा विजय हात पारेमा मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने छ । तर, पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध पछिल्लो खेलमा ६ गोल गरेको मोरक्कोले बिर्सनुहुन्न । बेल्जियम र क्यानाडामाथि विजय हात पार्दै समूह ‘एफ’ को विजेता बनेको वालिद रेग्रागुइको मोरक्कोले अन्तिम १६ को प्रतिस्पर्धामा स्पेनलाई पेनाल्टी शुटआउटबाट घर फर्काएको थियो । अगस्टमा भाहिद हलिहोड्जिचलाई बर्खास्त गरेपछि रेग्रागुइको प्रशिक्षणमा मोरक्को ७ खेलमा अपराजित छ । त्यसक्रममा टोलीले १ गोलमात्र खर्चेको छ, त्यो पनि क्यानडासँग आत्मघाती गोल थियो ।
क्यामरुन (१९९०), सेनेगल (२००२), घाना (२०१०) पछि क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी टोली हो । अरबको यस टोलीले कतारमा भएका खेलहरूमा ठूलो समर्थन पाएको थियो । पोर्चुगलविरुद्ध अल थुमामा रंगशालामा हुने खेलमा पनि यही समर्थन पाउने अपेक्षा गरिएको छ ।
स्पेनले मोरक्कोविरुद्ध खासै अवसरको सिर्जना गर्न सकेको थिएन । तर पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध आफ्नो आक्रामक शैली देखाइसकेको छ । क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको खेलमा पोर्चुगलले स्विस टोलीविरुद्ध ६–१ को विजय हात पार्दा गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए ।
पोर्चुगल सन् २००६ पछि पहिलो पटक विश्वकप क्वाटरफाइनल खेलिरहेको छ । इंग्ल्यान्डले पेनाल्टी शुटआउटमा पराजित गरेको टोली सेमिफाइनल पुग्ने भिडन्तमा फ्रान्ससँग पराजित भएको थियो ।

Page 8
खेलकुद

भुवनलाई काठमाडौं ओपन

- कान्तिपुर संवाददाता

(काठमाडौ) - भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता जितेका छन् । पूर्व नम्बर एक गल्फर भुवनले दिनेश प्रजापतिलाई ९ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै च्याम्पियन बनेका हुन् । दोस्रो दिनको समाप्तीमा १ स्ट्रोकले पछाडि परेका भुवनले तेस्रो दिनमा ९ शटको अग्रता बनाएपछि नै उपाधि जित्ने निश्चित जस्तो भइसकेको थियो ।
सूर्य नेपाल गल्फ टुर २०२२/२३ सिजनको पहिलो प्रतियोगितामा भुवनले शुक्रबार ४ अन्डर ६४ को स्कोरसहित कुल १४ अन्डर २ सय ५८ गर्दै उपाधि जिते । उनले १ लाख १६ हजार रुपैयाँ प्राप्त गरे । भुवनको यो खेल करियरको दसौं उपाधि हो । १४ अन्डर रोयल नेपाल गल्फ क्लबमा कीर्तिमान पनि हो ।
६ अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५ अन्डर २ सय ६७ सहित दोस्रो भए । उनले ७८ हजार प्राप्त गरे । इभन पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १ अन्डर २ सय ७१ स्कोरसहित तेस्रो स्थानमा चित्त बुझाए । पहिलो दुई दिन अग्रता बनाएका रवि खड्काले ४ ओभर ७२ स्कोरमा खेल टुंग्याएर कुल ३ ओभर २ सय ७५ स्कोसहित चौथो स्थान प्राप्त गरे । तेस्रो र चौथो भएका शुक्र र रविले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे ।
समग्रमा ५ ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौं, ६ ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैटौं र ७ ओभर २ सय ७९ को स्कोरमा सूर्यप्रसाद शर्मा सातौं भए । अन्तिम दिन रमेशले १ ओभर ६९, कृष्णमानले ५ ओभर ७३ र सूर्यले ३ ओभर ७१ स्कोर बनाए । अन्तिम १८ होलको सुरुआत गर्दा भुवनसँग ९ स्ट्रोकको अग्रता थियो । दबाबविना सहजै अन्तिम दिनको खेल ४ अन्डर ६४ मा सकाउने क्रममा फ्रन्टनाइन १ अन्डर ३३ मा पूरा गरे । दोस्रो होलमा बोगी प्रहार गरे पनि तेस्रो र पाँचौं होलमा एक–एक सट बचाए । यसपछि ११, १३ र १४ औं होलमा बर्डी प्रहार गर्दै ब्याकनाइन ३ अन्डर ३३ मा पूरा गरे ।
सहजै भुवनले उपाधि जित्दा दोस्रो स्थानका लागि शुक्र र दिनेशको प्रतिस्पर्धा चल्यो । अन्तिम दिनको खेल सुरु गर्दा शुक्र २ स्ट्रोकले अगाडि थिए । तर शुक्रलाई ४ स्ट्रोकले माथ दिँदै दिनेश दोस्रो भए । दिनेशले ६ अन्डरको सानदार नतिजा निकाल्ने क्रममा फ्रन्टनाइन २ अन्डर ३२ मा सकाए । दोस्रो, तेस्रो र छैटौं होलमा बर्डी प्रहार गर्दा नवौं होलमा एक शट गुमाए । यसपछि १०, ११, १३ र १४औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याकनाइन ४ अन्डर ३० मा पुरा गरे ।
प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) खेलिरहेका शुक्रले अपेक्षाअनुरुप खेल्न सकेनन् । अन्तिम दिन इभन–पार ६८ खेले । उनले आठौं होलको बर्डीले फ्रन्टनाइन १–अन्डर ३३ मा सके । यसपछि ११, १३ र १६ औं होलमा एक–एक सट बचाए । तर १५ र १७ औं होलमा बोगी र १८ औं होलको डबल बोगीले ब्याकनाइन १ ओभर ३५ मा पूरा गरे ।
एमेच्योरतर्फको उपाधि अजित बिकेले जिते । उनले ६ ओभर ७४ सहित कुल १७ ओभर २८९ स्कोर जोडे । समग्रमा ३ सय ११ स्कोरसहित सुरेश तामाङ दोस्रो भए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) को आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीलाई सूर्य नेपालका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

खेलकुद

सिर्जनालाई स्वर्ण

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपालकी पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा ऐतिहासिक स्वर्ण पदक जितेकी छन् ।
उनले त्यसअघि सेमिफाइनलमा विश्व वरीयताको तेस्रो नम्बरकी ब्राजिलकी क्रिस्टियन ब्रा नासिमेन्टोलाई १५–१३ ले र पहिलो चरणमा मेक्सिकोकी दोस्रो वरीयताकी जेसिका क्विजानोलाई ८–७ ले हराएर फाइनल याता तय गरेकी हुन् ।
प्रतियोगितामा सहभागी अर्की पारा ओलम्पियन पलेशा गोर्बधन भने इरानकी रोजा इब्राहिमीसँग ८–२ अंकले पराजित भइन् । नेपाली तेक्वान्दो खेलाडी ग्रान्ड प्रिक्समा पहिलोपल्ट सहभागिता जनाएकी हुन् । पहिलो सहभागितामै नेपाली खेलाडीले स्वर्ण जितेका छन् । सिजनाले स्वर्ण जित्दै १०० अंक प्राप्त गरिन् । कुल ११२ अंक भएकाले १४ औं वरीयताबाट उनी सातौं वरीयतामा उक्लेकी छन् ।
डब्लूटी पारा तेक्वान्दोका डाइरेक्टर ओलोफ हसनले स्वर्ण जितेकामा सिर्जनालाई बधाई दिएका थिए । सिर्जनाले यसअघि युथ एसियन गेम्समा रजत र डल्लूटी प्रेसिटेन्ट कपमा रजत पदक जितेकी थिइन् । उनका प्रशिक्षक कविराज नेगी लामाले सिर्जनाको सफलता नेपाली पारा तेक्वान्दोका लागि ऐतिहासिक क्षण भएको बताए ।

खेलकुद

नवितासहित चार खेलाडी छनोट

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपालका नविता श्रेष्ठ, संयोग कपाली, रुबिन महर्जन, विनेश खनियाँले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोट खेल्न पाउने भएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को शीर्षस्थानमा रहँदै नेपालका चार खेलाडीले छनोटमा स्थान बनाएका हुन् । महिलातर्फ शुक्रबार समूह ‘एच’ मा नविताले बंगलादेशकी कोइ साइ मार्मालाई ३–१ को सेटमा हराइन् । उनले ११–९, ११–६, ४–११, ११–७ ले सेट जितेकी हुन् ।
नविता एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो महिला खेलाडी भइन् । एसियन च्याम्पियनसिप छनोटमा सफल भए उनले विश्व च्याम्पियनसिप खेल्न पाउनेछिन् ।
आफ्नो समूहमा नविता २ खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा रहिन् । उनले पहिलो खेलमा श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा हराएकी थिइन् ।
संयोगले लगातार दोस्रो जित निकाल्ने क्रममा माल्दिभ्सका मुसा मुन्सिफ अहमदलाई ३–१ को सेटमा हराए । समूह ‘डी’ मा यसअघि उनले बंगलादेशका मोहम्मद नाफिज इकवाललाई सोझो सेटमा पराजित गरेका थिए ।
रुविनले दोस्रो खेलमा पाकिस्तानका मोहम्मद साह खानलाई ३–१ को सेटमा पराजित गरे । समूह ‘सी’ मा रुबिनले श्रीलंकाका भुवनेका निर्मल बान्दारालाई सोझो सेटमा हराएका थिए ।
समूह ‘एफ’ बाट विनेश छनोट भएका हुन् । शीर्षस्थानमा रहेका विनेशले बंगलादेशका फहाद ख्वाजा र रामहिमलियनलाई हराएका थिए ।
शिवसुन्दर गोथेले बंगलादेशका रिवन खानलाई पराजित गर्दै छनोट हुने सम्भावना कायम राखेका छन् । समूह ‘ए’ मा शिवको २ अंक छ । समूह ‘ई’ मा रहेका प्रदीप रोका श्रीलंकाका प्रसाद जयशंका डी सिल्भासँग पराजित भएका थिए ।
महिलातर्फ समूह ‘ए’ बाट मनिका बत्रा, समूह ‘बी’ बाट श्रीजा अकुला, समूह ‘सी’ बाट रीथ रिस्या टेनिसन, समूह ‘डी’ बाट अर्चना गिरिश कमाथ, समूह ‘ई’ बाट दिया पाराङ चित्तल, समूह ‘एफ’ बाट विमन्दी संदिसा स्वा छनोट भए । उनीहरू सबै भारतीय हुन् । समूह ‘एच’ बाट माल्दिभ्सकी फातिमथ धिमा अली छनोट भइन् ।
आठ खेलाडी छनोट भइसक्दा बाँकी आठ खेलाडीको छनोट हुन बाँकी छ । वरीयता ९ देखि १६ सम्मको बाँकी छनोट खेल शनिबार हुनेछन् । यस वरीयतामा नेपालका खेलाडी स्थान बनाउन असफल भएसँगै एसियन च्याम्पियनसिप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । नेपालबाट एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठले १७ देखि २४ वरीयतासम्म प्रतिस्पर्धा गर्नेछन् ।
एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट हुनेछन् । नेपालबाट भने ५–५ खेलाडी छनोटमा प्रतिस्पर्धी छन् ।

खेलकुद

प्रज्वललाई विश्व शारीरिक सुगठनमा कांस्य

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– थाइल्यान्डको फुकेटमा भइरहेको तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका प्रज्वलमान शाक्यले कांस्य पदक जितेका छन् ।
थाइल्यान्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स संघको आयोजना भएको च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूहमा प्रज्वल तेस्रो हुँदै कांस्य जित्न सफल भए । टिम व्यवस्थापक दिनेश राजभण्डारीका अनुसार ९ प्रतिस्पर्धीबाट प्रि–जजिङ राउन्ड पार गर्दै दुई भारतीय, एक थाई र बहराइनका खेलाडीसँगै उनी फाइनलका लागि छानिएका थिए । प्रज्वल एक भारत र थाई खेलाडीलाई पछि पार्दै तेस्रो भए । बहराइनका अब्बास माकी अली विजेता र भारतका योगेश निकाम दोस्रो भएका थिए ।
४४ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले शनिबार प्रतिस्पर्धा गर्नेछन् । संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा थाइल्यान्ड गएको टोलीमा प्रशिक्षकमा विश्व शारीरिक सुगठनका रजत पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय छन् । निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ छन् ।

खेलकुद

चेनहुई र पटेल जोडी विजेता

- कान्तिपुर संवाददाता

पोखरा (कास)– ताइपेइका चेन हुई होर अमेरिकाका हानु पटेलको जोडीले पोखरामा जारी आईटीएफ जुनियर सर्किट–२ टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा पहिलो भएको छ । शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा उनीहरूले ताइपेइका के हाउ हङ र काई एनयाङको जोडीलाई ६–४, १–६, १०–५ ले पराजित गर्‍यो ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघले आयोजना गरेको स्पर्धाको महिला डबल्सतर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीको जोडी पहिलो स्थान भयो । उनीहरूले फाइनलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६–२, ६–० ले हरायो ।

Page 9
कोसेली

मखमली प्रेमको हर्मोन

- शैलीका छेत्री

 

प्रेम दर्शन
विज्ञान भन्छ– मानव सम्बन्धहरूमाझ हामीलाई नियन्त्रणमा राखिरहने एक अद्भुत शक्ति हो वा हर्मोनहरूको त्यो खतरनाक ककटेल हो प्रेम, जसले मानव विकासवादी चाल रचिरहेको हुन्छ । र, प्रेमलाई प्रकृतिले चलाएको त्यो रासायनिक घूसखोरी मानिन्छ, जसबाट प्रजातिको ‘इभोलुसन’ हुन्छ । तर, स्टर्नबर्गको प्रेम–प्रसिद्ध त्रिकोणीय सिद्धान्तबाट हेर्दा रोमान्टिक प्रेम जुनुन, आत्मीयता अनि प्रतिबद्धतामा आधारित हुन्छ ।
वास्तवमा प्रेम के हो ? सदिऔंदेखिको यो प्रश्न सदिऔंदेखि नै अनुत्तरित छ । विमर्श भइरहेकै छ, तर सही तौरमा कसैले पनि नबुझेको विषय हो– प्रेम । जसरी अमूर्त चित्रकला हेरेपछि प्रत्येकले आ–आफ्नै व्याख्यान दिन्छन्, त्यस्तै अपरिभाषित अमूर्त व्याख्यान हो प्रेम ।
प्रेम मलाई वास्तवमा त्यो ऊर्जाजस्तो लाग्छ, जो न आफैं सिर्जना गर्न सकिन्छ, न नष्टै गर्न तर त्यो ऊर्जा एक मुटुदेखि अर्को मुटुसम्म प्रसारचाहिँ गर्न सकिन्छ । हो, प्रेम ऊर्जाको त्यो आगो हो, जो एकपटक निभेपछि त्यसलाई पहिलेझैं सल्काउन गाह्रो पर्छ । त्यसैले प्रेम अनि ऊर्जाको कुरा गर्दा कुन्नि किन मलाई भौतिक विज्ञानका महान् अन्वेषक तथा प्रेमी अल्बर्ट आइन्स्टाइनका दुईवटा प्रेमविवाह अनि दसवटा रोचक प्रेम सम्बन्धको प्रेमिल कथाले काउकुती लगाउँछ । आइन्स्टाइनले प्रेममा एक हजार चार सय प्रेमपत्र लेखे । एउटा प्रेमपत्रमा आइन्स्टाइन लेख्छन्, ‘यही, ई एक्वल्स् टु एमसी स्क्वायरको सट्टा संसार चलाउने ऊर्जा, प्रकाशवर्गको गतिसित प्रेममार्फत जीवन चलाउने शक्तिलाई हामी स्वीकार गर्छौं भने त्यतिबेला हामी प्रेमलाई प्राप्त गरिरहेका हुन्छौं र त्यस क्षण त्यो विश्वव्यापी शक्ति नै प्रेम हुन्छ ।’
स्टर्नबर्गअनुसार जुनुन यौन हो, जसले सुरुमा पार्टनरहरूलाई एकअर्काप्रति आकर्षित गर्छ । र, आत्मीयता दुई प्रेमीबीचको भावनात्मक अनि व्यावहारिक बन्धनमा आधारित हुन्छ । अनि प्रतिबद्धतालाई चाहिँ दुई प्रेमीबीच जीवन बाँच्ने इच्छा (जसलाई यौन इच्छा वा विश्वास पनि भनिन्छ) भनेर बुझ्न सकिन्छ । त्यसैले मानव–प्रेम बडो जटिल अनि रहस्यमय अनुभूतिको विषय हो, जसले आफ्नै वास्तविकताको सिर्जना गर्छ । विज्ञानका अनुसार, मानव मस्तिष्कको भावात्मक कोर अर्थात् सेरेब्रल कोर्टेक्समा विकसित हुन्छ प्रेम । त्यसैले प्रेममा मानव स्नायु प्रणाली र ‘भ्यागस’ नर्भको चाखलाग्दो भूमिका हुन्छ । भ्यागस नर्भ त्यो हो, जसले मानव मस्तिष्कमा प्रेमका अस्पष्ट संवेदनाहरू भर्ने गर्छ ।
विज्ञान भन्छ, ‘आँखाबाट सुरु भएर सेरेब्रल कोर्टेक्समा प्रथमचोटि प्राथमिक सन्देशलाई अनुभव गरेपछि भ्यागस वा भिसेरल नर्भहरूको चलखेलमा प्रेम अनुभूत हुन्छ । र, त्यो अनुभूतिले नै व्यक्तिमा अनौठो परिवर्तन विस्तार गर्छ ।’ त्यसैले प्रेममा रिस वा उदासीजस्ता तीव्र भावना विकसित हुन्छन् र शरीरको रक्तचाप अनि मांसपेशीमा ऐठनजस्तो तनाव बढ्छ । मुटुको धड्कनले रफ्तार पक्रिएपछि नै त हो हत्केला अनि निधारभरि शीतका थोपाहरूझैं पसिनाका लहरहरू अकारण थुप्रिँदै जानु, प्रेमिल अनुहार पनि प्रेमका अघि रातो बनेर बेअर्थको लज्जा भावमा प्रस्तुत हुनु, खुलस्त बोल्ने स्वतन्त्रता गुमेजस्तो हुनु र हामीलाई असहज अनुभव हुनु ! यिनै होइनन् त प्रेमका चिह्नहरू ?
बडो जादुई हुँदो हो ‘प्रेम’, जसको जादुई सौन्दर्यमाथि गालिबले ‘आतिस’, तोल्सतोयले ‘अन्ना कारेनिना’, विलियम गोल्डम्यानले ‘द प्रिन्सेस ब्राइड’ अनि शेक्सपियरले ‘रोमियो–जुलियट’ लेखे । मेरा लागि प्रेम बडो मादक विषय हो, जसको प्रभाव मस्तिष्कको मार्ग हुँदै नाभितिर पुगेर अन्त्य हुन्छ । ‘भ्यागस’ नामक स्नायुको कार्यप्रणालीमा अनौठो गडबडी आएपछि पेटभरि हजारौं पुतलीले एकसाथ क्रीडा गरेको त्यो मीठो अनुभूतिले भोक अनि तिर्खाका भावहरूलाई कतै गायब पारिदिन्छ, यस्तो मादकता हुन्छ प्रेममा । त्यतिबेला नै त हो, मुटुले बारबार भनिरहेको हुन्छ, ‘प्रेमलाई आँखाले होइन मस्तिष्कले देख्छ ।’ त्यसैले पखेटा भएको कामदेव दृष्टिहीन छ र नै त साँचो प्रेमको मार्ग कहिल्यै सहज बन्न सकेको छैन । जतिबेला व्यक्ति तीव्र प्रेममा हुन्छ, त्यतिबेला खतराहरू अनुभव गर्ने प्रमस्तिष्क–खण्ड अर्थात बौद्धिक मस्तिष्क र उत्तर मस्तिष्क अर्थात भावनात्मक मस्तिष्कका केही खण्ड एकैछिन हाइबरनेसनमा जान्छन् । याद गरौं न, पहिलो डेटमा प्रेमीहरूले–प्रेमिकाहरूले एकार्कासँग प्रेमले बोल्ने सीप हराएको अनुभव गरिरहेका हुन्छन्, होइन त ?
साँच्चै, बडो अद्भुत हुन्छ प्रेम–अनुभूतिका ती प्रेमिल प्रभाव । प्रेम–अनुभूतिका प्रेमिल प्रभावलाई विज्ञानले प्रामाणिकता दिएको त्यो समय (सन् २०१९) मा फर्कौं । लस एन्जलस क्यालिफोर्निया विश्वविद्यालयका अन्वेषकहरूले प्रेम सम्बन्धमा बाँचिरहेका ४७ जना युवतीको रगत जाँच गर्दा पत्तो पाए, ‘प्रेममा पर्नु मानव जीवनको सबैभन्दा शक्तिशाली मनोवैज्ञानिक अनुभवहरूमध्ये एक रहेछ ।’ वास्तवमा प्रेम त्यो मनोवैज्ञानिक मास्टर चाबी हो, जसले व्यक्तिमा घृणा, ईर्ष्या अनि डरजस्ता नकारात्मक भावको ढोकालाई बन्द गर्छ र जीवनमा खुसीको सकारात्मक ढोका खोल्छ ।
शेक्सपियरको समयमा प्रेमलाई रोग मानिन्थ्यो । व्यक्ति प्रेममा पर्नु स्वाभाविक विषय हो भन्ने विमर्श नै नभएको समय थियो त्यो । प्रेम रोग हो भने त्यसलाई कुनै प्राकृतिक वा मानवनिर्मित नियम थाहा हुँदैन । परतन्त्रको पिँजडामा थुनिएपछि नै हो प्रेमले स्वतन्त्र पखेटा गुमाएको र प्रेम रोग बनेर चाहनाको नदीमा निरन्तर रमाइलोपनको खोजीमा हिंस्रक बन्दै गएको । तर, आधुनिकतम् विज्ञानले यही प्रेमलाई औषधिको प्रामाणिकता दिँदै भन्छ, ‘कसैसँग प्रेममा हुँदा मानव जीनले शरीरमा ‘इन्टरफेरोन’ नामक प्रोटिनहरू उत्पादन गर्छ, जसले मानव शरीरलाई भाइरल संक्रमणहरूबाट प्रतिरक्षा गर्दै आएको हुन्छ ।’ अझ प्रेमले व्यक्तिलाई हृदय रोगबाट सुरक्षित पनि राख्छ अनि शरीरमा बढेको रक्तचापलाई नियन्त्रण पनि गर्छ ।

प्रेम हर्मोनको विज्ञान
विज्ञानअनुसार, जतिखेर हामी आत्मीय व्यक्ति वरिपरि हुन्छौं, हाम्रो मस्तिष्क स्नायुबाट ‘डोपामिन’ र ‘नोरइपिनेफ्रिन’ नामक हर्मोनहरू उत्पादन भइरहेको हुन्छ र ती हर्मोनहरूले व्यक्तिमा आनन्द, स्नायु उत्तेजना अनि उत्साहको भावना निम्त्याउँछ । त्यही क्षण त्यहाँ ‘सेरोटोनिन’ (खुसीको अनुभूति दिलाउने हर्मोन) प्रवाह हुन्छ र त्यसले मोह भावनालाई उत्तेजित पार्छ । त्यसपछि हो यौन हर्मोनहरू (टेस्टोस्टेरोन र इस्ट्रोजेन) ले व्यक्तिमा कामवासनालाई नेतृत्व गर्दै आएको, अक्सिटोसिन (प्रेम हर्मोन) ले समानुभूति भाव मस्तिष्कमा कुँदिएको । विज्ञानअनुसार, प्रेममा ओएक्सटी नामक जिनको पनि विशेष भूमिका हुन्छ । त्यो ओएक्सटी जिन नै हो, जसले मानव मस्तिष्कका स्नायुहरूमा अक्सिटोसिन हर्मोन उत्पादन गर्छ । र, त्यो अक्सिटोसिन हर्मोनले चाहिँ मान्छेको सामाजिक व्यवहार निर्धारित गर्दै आएको हुन्छ । जर्जिया विश्वविद्यालयलले मानव मस्तिष्कमा ओएक्सटी जिनको संरचना अनि प्रेममा त्यसको प्रभाव खोज्न एक सय बीसभन्दा बढी व्यक्तिहरूमा गरेको एउटा अन्वेषणले पत्ता लगाएको थियो, ‘ओएक्सटी जिन कम भएका व्यक्तिहरू आफ्ना प्रियजनसित पनि भावनात्मक रूपमा कम जोडिएका थिए ।’ अन्वेषकहरूले जटिल जिनहरूका सेट र जिनहरूबीचको मिल्दो अन्तरक्रियामा सामाजिकता निर्माण भएको वैज्ञानिक तथ्य पत्ता लगाए । र, सन् २०११ मा अन्वेषक वुडले ओएक्सटी जिनलाई ‘विकासको द्रुत रूप’ भनी प्रमाणित गरे ।

अक्सिटोसिन हर्मोन ः एक विमर्श
अक्सिटोसिन हर्मोन प्रेम आलिंगन तथा चुम्बनको समयमा मानव मस्तिष्कमा बढी मात्रामा निसृत हुन्छ । यसलाई ‘कडल’ (आलिंगन) हर्मोन वा ‘बन्डिङ’ (स्नेह) हर्मोन पनि भनिन्छ । विशेषगरी, अक्सिटोसिन यौनको चरम सन्तुष्टितिर शरीरभरि प्रवाहित हुन्छ । तर, यो हर्मोन सन्तान जन्माएपछि स्तनपानमा रहँदा पनि स्त्रीमा बढी मात्रामा देखापर्छ । त्यसैले प्रेमको बायोकेमिस्ट्रीमा बारम्बार महत्त्वपूर्ण भूमिका न्युरोपेप्टाइड अक्सिटोसिनले खेलिरहेको हुन्छ । अक्सिटोसिनले आमा र शिशुबीचको सम्बन्धलाई बलियो बन्धनमा बाँधेको हुन्छ ।
सन् २०१२ मा रोबर्ट फेल्डम्यानले बच्चाको उपस्थितिले पनि घरका वयस्क सदस्यहरू (बुबा, हजुरबुबा, हजुरआमा) मा अक्सिटोसिन हर्मोनको प्रवाह स्वतः बढेको पत्ता लगाएका थिए । सारासोटा डल्फिन रिसर्च प्रोग्राम फ्लोरिडाले डल्फिनहरूमा हर्मोनको मात्रा नापेको थियो । र, बच्चा डल्फिनमा त्यो मात्रा उच्चस्तरको भएको पत्ता लगाएको थियो । त्यो प्रोग्रामले भनेको थियो, ‘त्यो अक्सिटोसिन हर्मोन नै रहेछ, जसले डल्फिन बच्चालाई डल्फिन आमाको प्रत्येक निर्देशनसित समुद्रको गहिराइमा पनि प्रेम अनि स्नेहको भाव राख्न सिकाइरहेको हुन्छ । त्यसैले अक्सिटोसिन हर्मोन प्रेमिल सम्बन्धका निमित्त एकदमै महत्त्वपूर्ण छ ।’

विज्ञान र प्रेम
पुरुषको तुलनामा स्त्रीमा अक्सिटोसिनको मात्रा बढी हुन्छ । यौनसम्बन्धपछि पुरुषमा यसको मात्रा कम हुन पुग्छ, तर स्त्रीमा चाहिँ रोमान्टिक प्रेमको रुचि कायमै रहन्छ । खासमा त्यो प्राकृतिक कारण नै हो, जसले पुरुषलाई लामो अवधिसम्म प्रेम सम्बन्धमा रोमान्टिक बन्न दिँदैन ।
विज्ञानका निम्ति प्रेम ‘सेरोटोनिन’ (खुसीको अनुभूति दिलाउने हर्मोन), ‘टेस्टोस्टेरोन’, ‘डोपामिन’ (आनन्द अनुभूति दिलाउने हर्मोन), नोरइपिनेफ्रिन हर्मोनको चलखेल हो । अक्सिटोसिन (प्रेम हर्मोन) अनौठो प्रभावमा प्रजातिको जनसंख्या जोगाइराख्न प्रकृतिले रचेको यौनिक यात्रा हो, जहाँ भावनाको कुरा न्यूनतर हुन्छ र केवल प्रजननको कुरा बाँकी रहन्छ । र, प्रजननपछि जन्मिएको सन्तानलाई संरक्षण दिँदै सामाजिक संस्कारसित अवगत गराउन अनि प्रकृतिमा प्रजाति बचाइरहन नै यौनले प्राथमिकता पाएको हो । डाक्टर आना मासिनले भनेका छन्, ‘प्रेम पर्नु भनेको व्यक्तिका निम्ति प्रकृतिमा जीवित रहने प्रमुख बाटोलाई पछ्याउनु हो ।’ मलाई लाग्छ, संसारमा प्रजाति संख्या कायम राख्ने प्रकृतिको एक परियोजना मात्रै हो प्रेम ।
प्रेम–यौन
हुन त विज्ञानले प्रेम भावलाई केवल प्रजननका निम्ति चलाइएको यौनिक प्रक्रिया मान्छ । तर, भावनात्मक आधारमा ‘प्रेम’ र ‘यौन’ समानार्थी शब्द होइनन् । शारीरिक रूपमा कहिल्यै नभेटिएको मान्छेसँग पनि अर्को मान्छे बलियो प्रेम सम्बन्धमा बाँधिइरहन सक्छ । त्यसैले प्रेम अर्को व्यक्तिप्रतिको तीव्र गहिरो भाव हो अनि यौनचाहिँ केवल शारीरिक आकर्षण । कतिपयले यौनलाई प्रेमको अन्तिम विन्दु माने पनि यो आफैंमा प्रेमचाहिँ होइन । हुन त प्रेममा अक्सर यौन जोडिन आइपुगिहाल्छ । त्यसैले प्रेमले ज्यादातर यौनलाई नै संकेत गरेजस्तो भान हुन्छ । तर, केवल इच्छा र आनन्दको अभिप्रायमा हुने यौन, प्रेम होइन । यौन प्रकृतिले प्रजाति जोगाउन रचेको प्रेमपूर्ण षड्यन्त्र हो । प्रेमचाहिँ भावनात्मक, बौद्धिक र आध्यात्मिक तौरमा हुने एक अलग्गै प्रक्रिया हो ।

प्रेमको वैज्ञानिक चरण
विज्ञानले प्रेमलाई ‘वासना’, ‘आकर्षण’ र ‘सम्मिलन’ (प्रणय–बन्धन) गरी तीन चरणमा विभाजन गर्छ । त्यसैले प्रेमको पहिलो चरणमा वासनाको मुख्य कारक ‘टेस्टोस्टेरोन’ हर्मोन हुन्छ, जसले पुरुष–स्त्री दुवैमा किशोरावस्थातिर भयंकर चामत्कारिक प्रभाव जमाउँछ । त्यसैले हो हर्मोनको यस्तो मादकतामा व्यक्तिलाई मोहको अनुभूति पनि प्रेमजस्तै लाग्छ । तर, एकपटक यो अभिलाषाको चरण पार गरेपछि प्रेम दोस्रो चरणमा हुन्छ, जसलाई ‘आकर्षण’ भनिन्छ । व्यक्ति धेरै तरिकामा अर्को व्यक्तिसित आकर्षित हुन्छ । त्यो मन परेको प्रिय व्यक्तिप्रतिको चारित्रिक समानता, मायालुपन वा मिल्दो परिपक्वताको स्तर वा शारीरिक सौन्दर्य पनि हुन सक्छ, जसले ‘आकर्षण’ लाई जन्म दिन्छ । तर, विज्ञानअनुसार मानवमस्तिष्कमा ‘आकर्षण’ को मूल कारक ‘डोपामिन’ को मायावी जाल मात्रै हो । त्यसैले अधिकांश व्यक्ति ‘वासना’ र ‘आकर्षण’ को चरणलाई महत्त्व नदिँदै प्रेमको सबैभन्दा सुन्दर चरण ‘सम्मिलन’ मा प्रवेश गर्छन् । यो चरणमा ‘अक्सिटोसिन’ अर्थात् ‘प्रेमरस’ को यस्तो मायाजाल हुन्छ, जहाँ यौनले बढी मान्यता पाउँछ । यो चरण–प्रवेशपछि नै दुई प्रेमी बलियो बन्धनमा बाँधिन्छन् ।

प्रेमको संकेत ॅहृदय’
विज्ञानअनुसार, प्रेमको भावना हाम्रो हृदयमा उत्पन्न हुँदैन । बरु प्रेम हाम्रो मस्तिष्कमा अक्सिटोसिन, डोपामिन, एड्रिनालिन टेस्टोस्टेरोन, इस्ट्रोजेन र भासोप्रेसिनको प्रवाहमा उत्साह, आनन्द अनि बन्धनको मिश्रित भावनासित सिर्जना हुने गर्छ । र, यी भावले हाम्रो मस्तिष्कका निर्णय अनुभूति गर्ने प्रणालीभित्रको प्रमस्तिष्क नामक केन्द्रलाई असर गर्छ । त्यसैले हो मान्छेलाई प्रेम हेरोइन र कोकिनको लतजस्तो मादक अनुभव भएको । र, एकपटक प्रेमको स्वाद लिएको मान्छे थप प्रेम अनुभूतिमा रम्न लालायित बनिरहेको हुन्छ । प्रेम लतको एक कारण हो, हामी अर्को मान्छेसँग बारबार प्रेममा जोडिइरहेका हुन्छौं । कारण के भने हामी ती रसायनहरूको लतमा हुन्छौं । त्यसैले महत्त्वपूर्ण व्यक्तिसँगको अन्तरक्रियामा हामी आनन्द, उत्साहको तीव्र, तर मधुर उष्णता अनुभव गर्छौं । त्यो वास्तवमा प्रकृतिले नै चलाएको एक जैविक घूसखोरी हो ।
सन् १९५५ मा भिन्सेन्ट डु भिग्नेउडले अक्सिटोसिन र भासोप्रेसिन हर्मोनलाई कर्नेल मेडिकल कलेजमा पृथक् ढंगले संश्लेषण गरे । ‘प्रेम हर्मोन’ को रोचक कार्यप्रणालीका निम्ति उनलाई रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरियो । त्यसपछि मात्रै बुझिएको थियो, ‘प्रेम मुटुको भावनामा नभएर मस्तिष्कको रासायनिक प्रतिक्रियामा आधारित हुन्छ ।’ त्यसैले होला, अचेल ‘प्रेम’ बुझाउन संकेतका रूपमा चलाइने ‘हृदय’ आकारको प्रतीक मुटुसित सम्बन्धित नभई चौधौं शताब्दीमा कामोत्तेजक अनि प्रभावकारी गर्भनिरोधकका रूपमा प्रयोग गरिने सिल्फियम बिरुवाको प्रतीकमा आधारित भएको मानिन्छ ।

प्रेमको रातो रङ
प्रेमको रङ खासमा कस्तो हुन्छ ? रोमान्टिक प्रेमलाई रातो रङले बुझाउँछ । पश्चिमी समाजमा रातोलाई भ्यालेन्टाइन डेसँग जोडेर हेरिन्छ । यसको प्रतीकात्मक र सांस्कृतिक अर्थ छ । फेरि विज्ञानले पनि रातो रङको प्रभावले शरीरमा प्रेमले झैं ढुकढुकी बढाउने, उत्साह र ऊर्जा उत्पन्न गर्दै व्यक्तिमा जोस, वासना अनि इच्छाको भाव जगाउने गर्छ भन्ने प्रमाणित गरेको छ ।
बडो गजबको छ, ‘प्रेम हर्मोन’ । सन् १९६० को दशकमा नासाद्वारा अनुदान प्राप्त परियोजनाअन्तर्गत डाक्टर जोन लिलीले ‘प्रेम हर्मोन’ को प्रभावबारे अनुसन्धान गरिरहेकी थिइन्, डल्फिन अनि मानव सम्बन्धमा रहेर । सन् १९६१ मा प्रकाशित आफ्नो किताब ‘म्यान एन्ड डल्फिन’ मा यस विषयलाई लेखेकी छन् डाक्टर लिलीले । त्यो डाक्टर लिलीको अनुसन्धान नै थियो, जसको आधारमा चलचित्र ‘अल्टर्ड स्टेट्स’ बन्यो । उनको त्यस अनुसन्धानमा तीनवटा डल्फिन प्रयोगमा थिए, ‘पिटर’ (भाले), ‘पामेला’ र ‘सिसी’ । ‘पामेला’ र ‘सिसी’ पोथी डल्फिन भएकाले लिलीले एलएसडी (एक खालको लट्ठ्याउने औषधि) प्रयोग गर्दा डल्फिनले अंग्रेजी भाषाका आवाज नक्कल गरेका थिए । तर, अनुसन्धानमा डल्फिन पिटरलाई प्रशिक्षण दिन लिलीलाई हम्मे पर्‍यो । कारण पिटर यौन परिपक्वताको चरममा अर्थात् ‘अक्सिटोसिन’, ‘डोपामिन’ र ‘टेस्टोस्टेरोन’ हर्मोनको प्रभावमा थियो र बच्चाजस्तै खुब चञ्चल थियो । त्यसैले डाक्टर लिलीले मार्गरेट लोभेटलाई पिटरको प्रशिक्षणका निम्ति नियुक्त गरिन् । तर, त्यस अनुसन्धानमा पिटर अनि मार्गरेट लोभेटबीच अचम्मको सम्बन्ध विकसित भयो, जसबारे मार्गरेटले ‘हसलर’ पत्रिकामा लेख लेखेकी छन्, ‘पिटर मसँग बस्न मन पराउँथ्यो । उसले आफैंलाई मेरो घुँडा, खुट्टा वा हातमा रगड्दा अतीव आनन्द पाउँथ्यो । त्यो पिटरका निम्ति यौन थियो र विज्ञानका निम्ति प्रेम हर्मोन अक्सिटोसिनले निम्त्याएको ‘इन्टरस्पेसिफिक सेक्स (अन्तर प्रजातीय यौन) ।’ तर, पछि अनुसन्धानअन्तर्गत पिटरलाई मार्गरेटसित छुट्याएर राखियो । त्यस निर्णयले एक दुःखद मोड लियो । भयो के भने, डल्फिन पिटरले मार्गरेटसित त्यसरी जबरन छुट्टिनु परेको अतिशय पीडामा गहिरो पानीमा डुबेर आत्महत्या गर्ने स्वतन्त्र पीडालाई नै अन्त्यमा रोजिदियो ।
त्यसैले मलाई लाग्छ, बडो रहस्यमय छ, हर्मोन अक्सिटोसिन अनि प्रेम आलापका कुराहरू । प्रख्यात प्राइमेटोलोजिस्ट जेन गुडमलले चिम्पान्जीहरूको रहस्यमय प्रेमको अध्ययनपछि पत्ता लगाए– चिम्पान्जीको पिसाबमा अक्सिटोसिन हर्मोन बढी मात्रामा पाइन्छ । त्यसैले तिनीहरूको भावनात्मक स्वभाव हुन्छ– झुन्डमा सबैसित मिलेर खाना बाँड्ने ।
सन् २००९ मा रागोना र वाङले गरेको प्रेयरी भोलहरू (नर्थ अमेरिकाको ढुंगे चट्टानमा पाइने मुसाको एक प्रजाति) माथिको एउटा अनुसन्धानबाट अक्सिटोसिनले सामाजिक अन्तरक्रिया र व्यवहारमा प्रमुख भूमिका खेल्दै आएको पाए । त्यस अन्वेषणमा थाहा लाग्यो, प्रेमका निम्ति अक्सिटोसिनसित डोपामिन अनि भासोप्रेसिनको अन्तरक्रिया पनि प्रमुख हुन्छ । जब प्रेयरी भोलहरूका जोडी यौनसम्पर्क गर्छन्, त्यहाँ अक्सिटोसिन र भासोप्रेसिन हर्मोनको प्रवाह हुन्छ । सन् १९९८ को कार्टरको एउटा प्रयोगमा बफादार भोलको जोडीलाई अक्सिटोसिन हर्मोनको इन्जेक्सन दिएपछि छनोट गरिएका अरू प्रेयरी भोलसित यौनसम्पर्कका लागि उक्साउँदा पनि ती प्रेयरी भोलहरू आफूले पहिले नै रोजेको पार्टनरका निम्ति छटपटाइरहेका थिए । प्रेम हर्मोनको यो कस्तो गजबको शक्ति !
युनिभर्सिटी अफ मिनेसोटाका वैज्ञानिकहरूले बीसवटा हिंस्रक सिंहहरूमा अक्सिटोसिन हर्मोन स्प्रे गर्दा तिनीहरू शान्त, सहनशील र नरम आचरण प्रदर्शन गरिरहेका थिए । घरको पाल्तु कुकुरलाई मायालु नजरले हेर्दा पनि कुकुर र मान्छे दुवैको शरीरमा अक्सिटोसिन हर्मोनको प्रवाह हुँदो हो । बन्डिङ हर्मोनको यस्तो प्रभावमा कुकुरले हाम्रो सुरक्षा खातिर खतराहरूलाई पनि बेवास्ता गरिरहेको हुँदो हो ।
ल ल ल
सायद प्रेम त्यो भाव हो, जब आत्माले प्रेम गीत गाउन थाल्छ तब हाम्रो जीवनमा सुखका फूलहरू आफैं फुल्छन्, अनि त्यतिबेला प्रेमले अधिकार दाबी गर्दैन, तर स्वतन्त्रता दिन्छ । प्रेम तथ्यलाई हामी कविगुरु रवीन्द्रनाथ टैगोरका रचनाहरू ‘रवीन्द्र संगीत’, उपन्यास ‘शेषेर कविता’, ‘चोखेर बाली’, ‘नौका डुबी’ अनि कादम्बरी देवीसितको कविगुरुकै त्यो प्रथम स्वतन्त्र प्रेम सम्बन्धभित्र पनि खोज्न सक्छौं । अरुणा चक्रवर्तीको पुस्तक ‘जोरसाँको’ पढेपछि रवीन्द्रनाथ अनि कादम्बरीको सम्बन्धबारे गहिरो रूपमा बुझ्न सकिन्छ । कादम्बरीदेवी रवीन्द्रनाथका दाजु ज्योतिन्द्रनाथका विवाहिता स्त्री थिइन् । कादम्बरीदेवीले युवा रवीन्द्रनाथको जीवनमा असाधारण भूमिका निर्वाह गरेकी थिइन्, जसले कविगुरुलाई कविता लेख्न प्रेरित गर्थ्यो । तर, समाजमा तिनीहरूको प्रेमसम्बन्ध गोप्य राखियो । मृणालिनीसँग रवीन्द्रनाथको विवाह भएको चार महिनापछि कादम्बरीले अफिमको ओभरडोजमा आत्महत्या रोजिन् । कादम्बरीको त्यस्तो मृत्युमा रवीन्द्रनाथ बडो विचलित बनेका थिए । र, एउटा पत्रमा लेखेका थिए, ‘मेरी रानी मरिसकेकी छन्, त्यसैले मेरो संसारको सुन्दर अपार्टमेन्टको भित्री ढोका बन्द भएको छ, जसले मलाई स्वतन्त्रताको वास्तविक स्वाद दिने गर्थ्यो ।’ रवीन्द्रनाथ सत्तरी वर्षका हुँदा नन्दलाल बोससमक्ष आफ्नो चित्रकारितामा देखिने स्त्री छविमा कादम्बरीदेवीको अनुहार भएको स्विकारेपछि नै हो मलाई पनि प्रेम बडो रहस्यमय लागेको ।
प्रेम मलाई निकोलस र्स्पाक्सले, ‘अ वाक टु रिमेम्बर’ मा लेखेझैं धैर्यवान् अनि दयालु लाग्छ । प्रेमले कहिल्यै ईर्ष्या गर्दैन वा प्रेम कहिल्यै घमन्डी वा अभिमानी बन्न सक्दैन । त्यसैले प्रेमको कुनै अन्त्य छैन र नै प्रेम शक्तिपुञ्ज हो । त्यसैले एक क्षण तपाईं पनि विचार गर्नुहोस्, प्रेमका यति विविध पक्ष पढेपछि तपाईंलाई प्रेमले कस्तो अनुपात देखायो– भावपरक, वासनायुक्त कि रासायनिक ? वा प्रेमको अरू पक्षसित पनि तपाईं अवगत हुनुहुन्छ ? तर, जे भन्नुस्, मलाई त प्रेम कबिरको दोहा (एक किसिमको कविता, जसलाई सन्त कबिरले उपदेश दिँदा प्रयोग गर्थे) जस्तो लाग्छ ः
प्रेम ना बारी उपजै प्रेम ना हाट विकाय
राजा प्रजा जेहि रूचै, शीश देयी ले जाय
अर्थात्
प्रेम न उम्रन्छ बारीमा न बिक्छ यो हाटमा
प्रेम चाहने राजा होस् कि प्रजा, शिर (बुद्धि) राख्नुपर्छ हातमा

 

Page 10
कोसेली

'खेल मिलोमतो’ को उपक्रम

- हिमेश

 

सिएरा लियोन विश्व फुटबलमा खासै नाम चलेको देश होइन । तर, विश्वकप सुरु हुनु ठीकअघि संसारमै त्यहाँको फुटबलबारे समाचार बन्यो । भएको के थियो भने त्यहाँको माथिल्लो डिभिजनका दुई खेलमा १ सय ८७ गोल भए । त्यस्तो पनि हुन सक्छ र ? तर, भयो । त्यसैले समाचार बन्यो । सिएरा लियोनको फुटबलका लागि त्यो लज्जाको समाचार थियो । त्यहाँको पहिलो डिभिजनमा बढुवाको समीकरणबीच दुई खेल एकै समय भएका रहेछन् ।
एउटा खेलमा गल्फ एफसी र कोक्विमा लेबनन तथा अर्कोमा कहुनला रेन्जर्स र लुमबेबु युनाइटेड भिडिरहेका थिए । बढुवा हुने दाउमा थिए, गल्फ र कहुनला । दुवैको अंक बराबरी थियो । दुईमध्ये को अघि हुने भन्ने निर्णय गोलअन्तरले हुन लागेको थियो । पहिलो हाफमा गल्फ ७–१ ले अगाडि थियो भने कहुनला २–० ले । खेल समाप्त हुँदा गल्फ ९१–१ ले विजयी रह्यो । कहुनला पनि के कम र ? उसको जित अन्तर थियो, ९५–० ।
पछि समाचार आयो, यी चारै टिममाथि कारबाही सुरु भएको छ, ‘खेल मिलोमतो’ को आरोपमा । एउटा प्रश्न यहाँनिर स्वाभाविक छ, फुटबलमा अहिलेसम्म सबैभन्दा बढी गोल भएको खेल के कस्तो थियो ? गिनिस बुक अफ वर्ल्ड रेकर्डलाई नै आधार मान्ने हो भने सन् २००२ मा माडागास्करमा भएको एक खेलमा एस एडेमाले सोल’ इमयरनेलाई १४९–० ले हराएको थियो । कुरा त्यत्तिकैमा सकिन्न, यी सबै आत्मघाती गोल थिए, विश्वासै गर्न नसकिने तरिकाले भएका ।
रेफ्रीको निर्णयको विरोध गर्न सोल’ इमयरनेका खेलाडीले आफ्नै पोस्टमा एकपछि अर्को गोल गरे । नेपाली फुटबलको इतिहासमै एकै खेलमा सय गोल भएको पाइन्छ । केही होइन, ५० वर्षअघि सहिद स्मारक लिग ‘ए’ डिभिजनका लागि भएको एक खेलमा आरसीटीले अन्नपूर्णलाई १०१–१ ले हराएको थियो । अहिलेसम्म पनि यो खेलको चर्चा दोहोर्‍याएर नेपाली फुटबलका हुने गर्छ । अब त यो खेलको नतिजा पनि किंवदन्तीजस्तै भइसकेको छ ।
खोज्नु मात्रै पर्छ, विश्व फुटबलमा ‘खेल मिलोमतो’ का अनेक घटना पाइन्छन् । भनिन्छ, जबसम्म फुटबल खेलिन्छ, ‘खेल मिलोमतो’ कुनै न कुनै रूपमा भइरहनेछ । भलै यो रोक्न हजार उपाय र नियम बनाइएका हुन्छन् । तर, जतिबेला ‘खेल मिलोमतो’ हुन्छ, त्यतिबेला केही मर्छ भने त्यो फुटबलै हो । फुटबलको नतिजा पहिले नै तय गर्न सकिने पटकथा होइन, तर जब खेलअघि नै त्यसलाई लेख्ने प्रयास हुन्छ, त्यो सर्वथा अस्वीकार्य हुन्छ ।
फेरि जतिबेला विश्वकप फुटबल सुरु हुन्छ, ‘खेल मिलोमतो’ बारे कुरा उठ्छ नै । फिफा यसप्रकारका तय नतिजा रोक्न असाध्यै चनाखो हुन्छ । सम्भवतः अहिलेको समय विश्वकप जत्तिको खेलमा ‘खेल मिलोमतो’ गर्नु सम्भव छैन । तर, कतार विश्वकपकै ठीक अघि हल्ला चलेको थियो– कतार आफैंले ‘खेल मिलोमतो’ गर्दै छ । इक्वडेरविरुद्धको खेलको नतिजा कतारको पक्षमा सुम्पिन लाखौं डलर खर्च गर्न तयार छ भन्ने गाइँगुइँ चलेको थियो, तर मैदानी खेलमा त्यस्तो भएन नै ।
र, ती हल्लै मात्रै साबित भए । तर, विश्वकपमै ‘खेल मिलोमतो’ भएको ठ्याक्कै खास घटना नभएको पनि होइन । तर, यो ‘तैं चुप मै चुप’ जस्तो खेल नतिजा थियो । घटना सन् १९८२ मा स्पनेमा भएको विश्वकपको हो । त्यसमा जुन खेलको नतिजा तयजस्तै भएको थियो, त्यसलाई त्यस प्रतियोगिताकै कलंक मानिन्छ । यसलाई भन्ने गरिन्छ, ‘गिजोनको अपमान’ । यो खेल गिजोनमा भएको थियो । त्यसमा पश्चिम जर्मनीले अस्ट्रियालाई १–० ले हराएको थियो ।
त्यो गोल खेलको सुरुआती १० मिनेटमा भएको थियो । त्यो एक गोलपछि दुवै टिमले खेल यसरी खेले कि मानौं, खेलाडीमा ज्यानै थिएन । यो नतिजापछि पश्चिम जर्मनी र अस्ट्रिया दुवै नकआउट चरणमा पुगे, त्यतिबेला समीकरण यस्तै बनेको थियो । यो नतिजाका कारण अल्जेरिया भने प्रतियोतिगाबाट बाहिरियो । पश्चिम जर्मनी, अस्ट्रिया र अल्जेरिया सबै समान चार अंकमा रहे । शीर्ष दुई टिम गोलअन्तरले मात्रै अगाडि रहे । त्यस अगाडि अल्जेरियाले पश्चिम जर्मनीमाथि प्रख्यात जित निकालेको थियो ।
पछि यो खेललाई लिएर फिफाले अनुसन्धान पनि गरेको थियो, कारबाही कसैलाई गर्न सकेन । खेललगत्तै जर्मन खेलाडी आफ्नो होटल पुग्दा केही समर्थकले तिनीहरूमाथि अण्डा फ्यालेर विरोध गरेका थिए । जर्मनीमा खेलको प्रत्यक्ष प्रसारण भइरहँदा कमेन्टेटरले दर्शकलाई यो खेल छाडेर अन्य कुनै कार्यक्रम हेर्नुसम्म भनेका थिए । पछि यही पश्चिम जर्मनी फाइनल पनि पुग्यो, तर इटालीसँग पराजित भयो । त्यही बेलादेखि हो, लिग चरणका अन्तिम दुई खेल एकै समय गर्नुपर्ने नियम आएको ।
ठ्याक्कै ‘खेल मिलोमतो’ भएकै हो भनेर किटान गर्न सकिने केही उदाहरण पनि छन्, त्यो पनि माथिल्लो स्तरको फुटबलमा । त्यसमध्ये एक घटना इटालीको हो भने अर्को फ्रान्सको । सन् २००६ मा युभेन्ट्सलाई ‘खेल मिलोमतो’ कै आरोपमा सिरी ‘बी’ मा झारिएको थियो । यति मात्र होइन युभेन्ट्सले सन् २००५ र २००६ मा जितेको सिरी ‘ए’ को उपाधि पनि खोसिएको थियो । युभेन्ट्सका निर्देशक लुसियानो मोगीलाई पाँच वर्ष जेल नै पठाइएको थियो ।
पूरा घटनाक्रममा १६ जनालाई दोषी मानिएको थियो । सबैलाई थाहा छ, इटालीमा माफियागिरी चल्छ । मोगीले पनि तिनै माफियाको सहयोगमा केही खेलको नतिजा तय गरेका थिए । यस काण्डलाई अहिले पनि इटालीको फुटबलकै कलंक मानिन्छ । आखिरमा युभेन्ट्स इटालीको फुटबल इतिहासकै सबैभन्दा सफल क्लब हो, तर एकाध लिग उपाधि जित्न उसका पदाधिकारीले किन ‘खेल मिलोमतो’ गरे भन्ने प्रश्नको उत्तर अहिलेसम्म कसैले दिन सकेका छैनन् ।
जसरी इटालीमा युभेन्ट्स सफल टिम हो, त्यसरी नै फ्रान्सको सबैभन्दा सफल क्लबमध्ये एक हो– मार्से । तर, उसकै नाममा पनि ‘खेल मिलोमतो’ को कलंक छ । सन् ९० तिर मार्सेले शृंखलाबद्ध ‘खेल मिलोमतो’ गरेका थिए । सन् १९८९ देखि १९९२ बीच मार्सेले फ्रान्सको माथिल्लो डिभिजनको फुटबल लिग–वान लगातार चारपल्ट जितेको थियो, प्रशिक्षक बर्नार्ड टापेको नेतृत्वमा । यसबीच उसले युरोपेली च्याम्पियन्स लिग पनि जितेको थियो ।
सबैलाई थाहा छ, युरोपेली च्याम्पियन्स लिग विश्व फुटबलका लागि के हो । यत्तिको माथिल्लो स्तरको प्रतियोगिता विश्व फुटबलमा विरलै होला, तर यही प्रतियोगिताको नतिजामा पनि कुनै समय छेडछाड भएका थिए । त्यो मार्से टिम आफैंमा निकै बलियो थियो । तर, पछि मात्रै पुष्टि भयो, टापेले केही खेल मिलोमतो गरेर जितेका थिए । त्यसैले उसले त्यो समय जितेका सबै लिग उपाधि मात्र खोसिएन, मार्सेलाई युरोपेली क्लब फुटबलमा पनि लामै समय प्रतिबन्ध लाग्यो ।
‘खेल मिलोमतो’ कै कारण पछिल्लो समय दक्षिण कोरियाको के–लिग र जापानको जे–लिग पनि चर्चामा आइरहन्छ । भनिन्छ, यी दुवै देशमा संगठित रूपमा अपराध गर्नेले लिगका खेलको नतिजा पनि आफूखुसी तय गर्ने गर्छन् । निचोड के हो भने फुटबलबाट ‘खेल मिलोमतो’ शतप्रतिशत हटाउन सकिन्न । तर, हटाउने प्रयास भने भइरहनुपर्छ । ‘खेल मिलोमतो’ ले आखिरमा मर्ने भनेको फुटबल नै हो । फुटबल मर्दा खुसी हुनेचाहिँ को होला ?

कोसेली

ॅजार काटेको मार्ग’

- धनकुमारी सुनार

 

भैसेपाटीको एउटा गल्लीको नाम हो– ‘जार काटेको मार्गर्’ । म हिँड्ने त्यस मार्गको सडकछेउको पर्खालमा पहिलोपटक त्यो नाम पढ्दा शरीर सिरिङ्ग भएको थियो । आयतन आकारको सेतो नम्बर प्लेटमा सात अक्षरमा लेखिएको छ– ‘जार काटेको मार्ग’ । सोचें– यस्तो पनि नाम हुन्छ ? कसले राख्यो यो नाम ? जार काटेको मार्गको उल्टोपट्टि पश्चिमतिर छ– एमआर मार्ग । पूर्वतिर छ– ‘महिला घर’ सडक ।
जार काटेको मार्गमा महिनौंसम्म दैनिक हिँड्नुपर्‍यो । त्यस सडकमा हिँडिरहँदा मस्तिष्कमा एउटै प्रश्न ओहोरदोहोर गरिरहन्थ्यो– को थियो होला त्यो जार ? कसले, कहिले यो सडकमा जार काट्यो ?
हरेक बस्ती, गाउँ, शहरका नाम छन् । एक अर्काबाट फरक हुन चाहिन्छ नाम । नामका अर्थ हुन्छन्, सन्दर्भ र इतिहास हुन्छन् । ‘मारिएको’ अर्थ दिने मैले सुनेका अरू पनि नाम छन्– ‘चोरमारा’, ‘बाघमारा’ आदि । मेरो अनुमान छ– कुनै बेला चोर मारिएको ठाउँ ‘चोरमारा’, बाघ मारिएको ठाउँ ‘बाघमारा’ ।
‘जार काटेको मार्ग’ माथिको मेरो कौतूहल साम्य भएन । केही समयपछि भैंसेपाटीको एक घरअघि थिएँ म । दुईतले त्यस घरको भुइँतलामा किराना पसलसहित दुग्धजन्य पदार्थ बिक्री गर्ने एक अधबैंसे पुरुष थिए काउन्टरमा । मैले सोधें, ‘यो सडकको नाम कसरी जार काटेको मार्ग भयो ?’ उनले तत्कालै भने, ‘मैले सुनेको हो, यही चोकमा काटिएको थियो रे एक जार । यहाँ काटिएपछि ५० मिटरसम्म टाउकोबिनाको उसको जीउ हिँडेको थियो रे । मेरा बुवाले भनेको हो । सबैले यही भन्छन् ।’ ती पसलेका अनुसार, त्यो सडकको चोकमा मान्छे काटिएकै हो । नेपालमा जार काट्न पाइने कानुन थियो नै । सतीप्रथाको नाममा महिलालाई जिउँदै पोल्ने चलन थियो नै ।
‘जार काटेको मार्ग’ भैंसेपाटी–१८ मा पर्छ । ऐतिहासिक किंवदन्तीसँग जोडिएको चोभार डाँडा भएकाले पनि यो वडा प्रसिद्ध छ । महामञ्जुश्रीले चन्द्रहर्ष खड्गले चोभारको गल्छी खोलेको कथा त धेरैले सुन्नुभएकै छ । उनैले प्राचीन समयमा काठमाडौं उपत्यकाको दहको पानी चोभारबाहिर पठाएर बस्ती बसाएको कथा प्रख्यात छ । त्यो ऐतिहासिक चोभार डाँडा आज जार काटेको मार्गको साक्षी भएर गमक्क छ ।

पिरतीको हत्या
म सानै छँदा आमा अनेक कथा सुनाउँथिन् । तिनमा स्वास्नी लाने जारसँग कसैले जारी लिएको, कसैले काटेको कथा पनि हुन्थे । ती कथा बडो डरलाग्दा हुन्थे । देवी, देउता भाकलका नाउँमा हुने जात्राका मायापिरती अनि बैंसालु महिला–पुरुषबीच रातभरि हुने गीतको जुहारीका कथा पनि सुनाउँथिन् आमा । जुहारी खेलेपछि मन परेकी केटी घिसार्ने चलन थियो रे उबेला । गीतमा हारे केटोसँगै पछि लागेर जानुपर्थ्यो रे केटी । प्रेमको अंकुर टुँसाएपछि प्रेमी नरिवल, मिश्री र सुकमेल पोको पारी मन परेकी मायालुछेउ पुग्नेगरी टाढैबाट फ्याँक्थ्यो अनि प्रेमिका अरूको आँखा छली फुत्त टिपेर खोकिलामा लुकाउँथिन् । मिस्री–नरिवलमिश्रित रसपूर्ण मायामा मिलनको सम्भावनाचाहिँ कति हुँदो हो ? थाहा छैन । तर, आमाले सुनाइरहने कथा थिए ती ।
जंगबहादुरले जारी गरेको विसं १९१० को मुलुकी ऐनमा जार अर्थात् मान्छे काट्न पाइन्छ भनि लेखिएको थियो । उबेला महिला दाससरह थिए । पुरुष (मर्द) लाई मन परे अविवाहित युवती घिसारेर लैजान पाइने सामाजिक–सांस्कृतिक अधिकार थियो । महिला विवाहित छ र अर्को पुरुषले जबर्जस्ती लगे वा विवाहेत्तर महिला–पुरुषको माया बसेर सँगै बस्न चाहे पहिलो लोग्नेले कानुनतः स्वास्नीको मोल (जार) बाट लिन पाउँथ्यो । जारलाई जातबाट पतिया (तल झार्ने, भात पानी बार्ने) गरिन्थ्यो । ‘ठूला’ भनिएका जातका स्वास्नी पानी नचल्ने जातका पुरुषले लगे कुनै मुलाहिजा नगरी काट्न पाइन्थ्यो । मुलुकी ऐनमा प्रस्ट लेखिएको थियो, ‘छोइ छिटो हालनु पर्न्या जात गैह्र कसैले. तागाधारि लगायत पानि चलन्या. चोषा जातका सधवाको करणि गर्‍यामा. भात पानि मा वोर्‍याको हवस्. वोर्‍याको नहवस्. अैन नहुदै अघि अदालतवाट ज्यान काटिंथ्यो. अैन भया पछि राजषत ठहर्नाले अंस सर्वस्व गरि दामल गर्नु भंन्या लेषियाको छ तापनि. साधुले मेरो जार काटछु भन्या. काट्न पाउछ ।’
तर, जारसम्बन्धी कानुनमा पनि जातअनुसार व्यवस्था थियो । त्यो व्यवस्था यस्तो छ– ‘उपाध्या जैसि व्राम्हणले उपाध्या जैसिकै जारि गर्‍या भन्या. साधुले मुडि जनै झिकि जात पतित गरि. उस्को अंस सर्वस्व गरि. आफु लिंछ तापनि मैले माफ गरि छाडि दिया भनि. केही नगरि छाडछ तापनि साधुको षुस हुंछ, जारि गर्न्याले उस्को हातको भात षायाको रहेनछ भन्या र अरूलाइ वोर्‍याको रहेनछ भन्या साधुले सजाय नगरि जारिको षत माफ गरि छाड्या का मानिसको जात जादैन आफ्ना जातैमा रहंछ अैनले सजाय हुन्य हाडनाता रहेनछ भन्या राजषत् पनि लाग्दैन ।’
मुलुकी ऐनमा जंगबहादुरले ‘चोखो’ र ‘बिटुलो’ भनेर श्रेणीगत गरेको तल्लो र पिंधमा रहेको पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने जातका पुरुषले तागाधारी र पानी चल्ने जातका सधवाको करणी गरे साधु
(महिलाको लोग्ने) ले जार काट्न पाउने लेखिएको छ । अन्तरजातीय प्रेम र सहवास गर्दा हाम्रा प्रेमी पुर्खा कति काटिए ? सम्झँदा पनि उकुसमुकुस हुन्छ । जार काट्ने चलन विसं २०२० को मुलुकी ऐन आएपछि मात्रै हट्यो । तर, ऐनमा अर्काकी स्वास्नी हो भन्ने जानी–जानी वा सो थाहा पाउने मनासिब कारण भई कसैले त्यस्तो स्वास्नीमानिसलाई स्वास्नी बनाउन लगेमा जारी गरेको ठहर्छ लेखिएको छ । जारी खतमा साधुको नालिस परे जार र जारी गरिएको स्वास्नीलाई एकदेखि दुई महिनासम्म कैद र एक हजारदेखि दुई हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था थियो नै ।
सृष्टि निरन्तरताका लागि महिला–पुरुषको आकर्षण स्वाभाविक र प्राकृतिक हुन्छ । वर्षौं बिताए पनि कसैसँग रत्तीभर अनुराग उम्रिँदैन, कसैसँगको अनुभूतिले मात्रै पनि पूर्ण तृप्ति दिन्छ । यदि जबर्जस्ती अर्काकी प्रेमिका (श्रीमती) खोस्ने अपराध गरिएको थिएन भने भैंसेपाटीको ‘जार काटेको मार्ग’ मा थिए– प्रेमको उत्कर्षरूपी मर्ममा प्रहार गर्ने हत्यारा । सँगै जीवन बाँच्न चाहने जोडीलाई विच्छेद गरी प्रेमी काटिएको हो भने भैंसेपाटीको इतिहासमा एक क्रूर दिन हो त्यो । ज्यान–बाजी लगाउने सर्तमा पनि प्रेम गर्ने, ‘जार काटेको मार्गमा’ काटिने त्यो ‘जार’ साँचो अर्थमा एक असल प्रेमी थियो, जसले युगान्तरसम्म प्रेमिल जोडीलाई प्रेरणा दिइरहनेछ ।

कोसेली

हावामा तैरिरहेका खाली गिलास

- रीना मोक्तान

 

चुनाव र विश्वकपको रौनकबीच काठमाडौंमा सुरु भएको नाट्य महोत्सवले नाटकप्रेमीलाई अत्यन्त व्यस्त बनायो । महोत्सवको नारा थियो– ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च ः विविधताको उत्सव’ (मंसिर ९–१७) ।
१२ देशका १८ नाटक मञ्चन भएसँगै विभिन्न कार्यशाला, अन्तरक्रियाले मण्डला थिएटरमा दर्शक चहलपहल बढाइरह्यो । यसअघि रंगमञ्चमा नदेखिएका नयाँ अनुहार पनि नाट्य महोत्सवमा देखिए । भारतीय अभिनेत्री शबाना आजमीको मास्टरक्लासले अभिनयमा भविष्य देख्नेलाई ऊर्जा थपिदियो । मण्डलाका तीन मञ्च (प्रमुख हल, सानो हल र प्रांगण) मा प्रस्तुत फरक–फरक शैलीका नाटकले विविधताको नारा आत्मसात गरेको देखियो । काठमाडौंबाहिरका रंगमञ्चका विचार, रंगमञ्चमाथिको समीक्षा अनि रंगमञ्च शिक्षाका विषयमाथि नाट्य महोत्सवले छेडिदिएको बहसले परिवर्तनको बीजारोपण गराइदियो । तर, नेपाली रंगकर्मीबीचकै एकता नाट्य महोत्सवमा खट्कियो ।
अब नाट्य महोत्सवमा मञ्चन गरिएका दुई नाटकका
दृश्य हेरौं ः

दृश्य–१
डोरीमा केही कप (गिलास) झुन्ड्याइएका छन् । ती हावामा तैरिरहेझैं देखिन्छन् । शून्य गुरुत्वाकर्षणमा कसैले चिया पिएर उसै छाडिदिएको कपजस्तै । सबै सिलिङतर्फ सोझिएका छन् । कुनै लामो डोरीमा झुन्डिएका छन् त कुनै छोटोमा । यत्तिकैमा दुई पात्र देखा पर्छन् । खुसीसाथ अभिवादन गर्छन् । बेस्सरी अंकमाल गर्दा दुवैका शरीरबाट बुङ्ग धूलो उड्छ । ढाड थपथपाउँदा धूलो बेस्सरी उड्न थाल्छ । एकअर्काका गाला छुन्छन्, धूलै–धूलो । शरीर धूलाम्मे, यस्सो हल्लिँदा धूलो उडिरहने । पुरुष पात्र एउटा कप देखाउँदै भन्छ, ‘मासी !’ महिला पात्र दौडेर कप नजिक पुग्छिन् । बिस्तारै हत्केलाले कप समात्दै पानी पिउन खोज्छिन् । कप खाली छ । त्यसपछि पुरुष पात्रलाई भनिदिन्छिन्, ‘नकुउपेन्दा मासी ।’ पुरुष पात्र मञ्चको कुनातिरको कप देखाउँदै सोध्छ, ‘मासी ?’ आशावादी भावमा दौडेर उनी कप सुमसुम्याउँछिन् । खुसीले बुरुक्क उफ्रिन्छिन् । पानी पोखिएला कि भन्ने डर मानेझैं बिस्तारै कप मुखतिर ढल्काउँछिन् । फेरि कप खाली । ‘नकुउपेन्दा मासी,’ छैन भन्ने भावमा उनी रिसाउँछिन् । हावामा भएका कपहरूमा पानी खोज्ने क्रम चलिरहन्छ ।

दृश्य–२
गाउँमा पानीको खडेरी लागेको छ । खोला, मुहान सुकिसके । भोक–प्यासले मरिने डरले बालबालिका, वृद्धवृद्धा, युवा सबै गाउँ छाड्ने निर्णयमा पुग्छन् । सबैको हातमा देखिन्छ पोको पन्तुरा । गाउँ छाड्नुअघि छलफल गर्छन् । गाउँकी काकी बोल्छिन्, ‘जुन दिशा गए पनि हाम्रो दशा त्यही हो । भोक–प्यासले ठाउँमा नपुग्दै मरिन्छ । हामीसँग बचेको केही छैन ।’ सबै मुखामुख गर्छन् । खिमा भन्छिन्, ‘यो ठाउँबाट बिदा लिनुपर्ने बेला आएको रहेछ । हाम्रा पाइलाहरूले साथ नछाडुन्जेलसम्म हामी हिँड्नैपर्छ । मत्यु पर्खेर कोही बस्नु हुँदैन ।’ उनकी आमा थप्छिन्, ‘कता जाने भनेर तँलाई थाहा छ ?’ खिमा हिमालतिर देखाउँदै त्यता कदम बढाउन सल्लाह दिन्छिन् । गाउँले पानीको खोजीमा हिमालतिर लम्किन्छन् ।
मण्डला थिएटरको एउटै मञ्चमा देखिएका फरक दृश्य हुन् यी । महोत्सवमा मञ्चन गरिएका यी दुई नाटकले समातेको धरातल मिल्दोजुल्दो छ । पहिलो दृश्य उरुग्वेको नाटक ‘रियो’ को हो । एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित यो नाटकमा खडेरीले पिरलेको क्षेत्रको कथा छ । खडेरी क्षेत्र पत्ता लगाउन हिँडेका दुई पात्रको यात्रा यो थिएट्रिकल क्लाउन पर्फमेन्समा छ । सुक्खा मरुभूमिजस्तो क्षेत्रमा पानीका लागि काकाकुल दुई पात्र र बाँच्ने संघर्ष देखाइएको छ । विषम परिस्थितिमा मानिसले देखाउने व्यवहार, मानवीयताका पत्र नाटकले बिस्तारै केलाउँदै लैजान्छ । अभाव, घटीकमीको समयमा हराउँदै जाने मानवता, स्वार्थपन, मानवीय अवगुण नाटकमा देखिन्छ । नाटकमा धेरै संवाद र प्रप्सको प्रयोग छैन । दुई निर्देशक नै मञ्चमा देखिएका कलाकार हुन् । दुईको शारीरिक भावभंगी, अभिनयले दर्शकलाई ‘रियो’ सँग जोडिराख्छ । उनीहरूको जीवन कति सुक्खा छ ? खडेरीले पारेको प्रभाव देखाउन प्रयोग गरिएको धूलो–विम्बले बलियो अर्थ खोल्छ ।
दर्शकलाई नाटकसँग जोड्न प्रयोग गरिएको कडी ‘रियो’ मा बेजोड छ । प्रमुख पात्रहरू संवाद बोल्दै गर्दा बीचमा नेपाली भाषा घुसाइदिन्छन् । उफ्रिँदा पनि नभेटिने कपमा पानी खोज्न एक पात्रले अर्कोलाई काँधमा बोकेको एक दृश्य छ, जहाँ काँधबाट ओर्लंदै गर्दा पात्र भन्छ, ‘तल, तल’ । त्यसपछि दर्शक हौसिन्छन्, नाटकमा एकाग्र हुन्छन् । एकाध दृश्यमा अंग्रेजी भाषा पनि मिसाइदिन्छन् । एउटा दृश्यमा रियोलाई बुझाउन दर्शकदीर्घातर्फ हेर्दै एक पात्र सोध्छ, ‘रिभर इन नेपाली ?’ दर्शकदीर्घाबाट एकै आवाजमा जवाफ आउँछ, ‘खोला’ । प्रमुख पात्रहरू कहिले दर्शकदीर्घामा आएरै अभिनय गरिदिन्छन्, कहिले दर्शकलाई पात्रको रूपमा उभ्याइदिन्छन् । रंगमञ्चमा दर्शक–कलाकारको दूरी धेरै छैन । यी दुईले कलाकार र दर्शकबीचको चौथो पर्खाल (फोर्थ वाल) भत्काउँदै दर्शकको ध्यान जसरी सुरुदेखि अन्तिमसम्म बाँधिराख्छन्, त्यसले ‘रियो’ ले भन्न खोजेको कथालाई दर्शकमा सजिलै पुर्‍याइदिन्छ ।
तर, नाट्य महोत्सवको अन्तिम दिन मञ्चित ‘कुभिन्डोको कथा’ भने दर्शकलाई कथासँग बाँध्नमै चुकेको छ । अभिनेता दयाहाङ राई र विकास जोशी निर्देशित यो नाटकको कथा अन्य उपकथामा अलमलिँदा दर्शकको ध्यान तान्न असफल बनेको हो । प्रनिश मगरको कथामा तयार यस नाटकले भन्न खोजेको कथा खिमा हो । यस्ती पात्र, जो होचो कदकै कारण समाज, आफन्त, इस्टमित्रबाट हेपिएकी छन्, दयाकी पात्र बनेकी छन् । खडेरी र अनिकालको समयमा हेलामा पारिएकी खिमाले देखाउने साहस, त्याग र मानवताको बाटो नै ‘कुभिन्डोको कथा’ हो ।
लोककथामा आधारित नाटकको कथा रोचक छ, तर प्रनिशले लेखेको दृश्यलाई मञ्चमा राम्ररी स्थापित गराउन नसक्दा दर्शकको ध्यान नाटकमा तानिँदैन । बारीमा भेटिएकी एउटा कुभिन्डो कसरी मानव अवतारमा खिमा बनिन् ? त्यो बुझाउन संवादकै प्रयोग गरिएको छ । कथा पानीको खडेरीबाट गाउँलेलाई खिमाले कसरी बचाउलिन् भन्ने हो । तर, कथा अघि बढ्दै गर्दा खिमाकी आमा र सौतेनी आमाबीचको जग्गा बाँडफाँडतिर अलमलिन्छ । प्रमुख कथा अघि बढाउने उपकथा मिलेनन् भने दर्शक कथामा बाँधिन हम्मेहम्मे पर्छ । यी कमजोरीबीच नाटकको कथा वाचन, काव्यात्मक संवाद, पात्रको मनोभाव पस्किने संगीतमा गरिएको मिहिनेत सशक्त छ । स्क्रिप्ट तल–माथि नगरी ‘कुभिन्डोको कथालाई’ जस्ताको त्यस्तै मञ्चमा प्रस्तुत गर्नु दयाहाङको नयाँ प्रयोग हो ।
‘रियो’ र ‘कुभिन्डोको कथा’ ले देखाएको पानीको खडेरी विगतको कथा हो । तर, यी दुई कथाले देखाउने प्रकृति र मानवको सम्बन्ध, उक्त सम्बन्धमा आउने असन्तुलनको कथा वर्तमान समयसँग सान्दर्भिक छ । पानी–संकट विश्वव्यापी समस्या हो । पानीको महत्त्व बुझाउन, यसले मानव जीवनमा ल्याउन सक्ने संकटको भविष्य देखाउँदै खडेरीमा गुमाउन नहुने मानवीयताका पक्षमा नाटकले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

 

Page 11
कोसेली

'गुरुजत्ति खँदिलो अर्को किताब छैन’

- कान्तिपुर संवाददाता


छोग्याल रिन्पोछे अचेल एकै ठाउँमा भेटिँदैनन् । युरोप, अमेरिका र एसियाका अनेक देशमा बौद्ध देशनाका लागि हप्तैपिच्छेजसो उडिरहनुपर्ने उनको व्यस्त तालिका छ । र, पनि आफ्नो थातथलो काठमाडौं भने उनी समय मिलाएर आइराख्छन् । २० वर्षसम्म बौद्ध दर्शन पढेका र तिब्बतका हिमाली गुफाहरुमा पुगेर तीन वर्ष ध्यान गरेका यी युवा रिन्पोछे हाल संसारभर एक सन्देश सुनाउँदै घुमफिर गर्छन्, ‘यही जुनीमा मोक्ष सम्भव छ ।’ सानोमा पढेको एउटा पुस्तकले यसै जीवनमा मोक्षभूमि पुग्न उत्प्रेरित गरेको बताउने उनै रिन्पोछे गत साता काठमाडौंमा थिए । उनीसँग घनश्याम
खड्काले गरेको किताब–वार्ता ः


प्रज्ञा अर्थात् ज्ञानको उदय भएपछि दुःखको नास हुन्छ र निर्वाण अर्थात् मोक्ष प्राप्त हुन्छ भन्ने अध्यात्म दर्शन छ । तपाईं त्यही पथको एक यात्री र मार्गदर्शक पनि हुनुुहुन्छ । प्रज्ञाको उद्बोधनमा पुस्तकको कुनै भूमिका हुन्छ ? हुन्छ भने त्यो कस्तो हुन्छ ?
प्रज्ञासम्म पुर्‍याउन पुस्तकले धेरै मद्दत गर्छ । प्रज्ञा भनेको म को हुँ भनेर जान्नु हो । हामी जसलाई ‘म’ भन्छौं त्यो के हो ? पहिले यसैमा विवेचना गरौं । आम रूपमा ‘म’ एक धारणा हो । र, प्रत्येक धारणा हाम्रो अर्धचेतन मनमा रोपिएका विचार–बीजका उपज हुन् । त्यसैले मान्छेको अर्धचेतनामा कस्तो विचार पसिरहेछ, त्यो महत्त्वपूर्ण हुन्छ । चाहे त्यो अध्यात्ममा होस् या संसारमा । किनभने, ‘म’ भन्नु नै अर्धचेतनामा दिइएको सूचना हो । जस्तो कि, हामी अहिले नेपाली भाषामा कुरा गरिरहेका छौं । नेपाली हौं भन्छौं । त्यो के कारण ? अर्धचेतनामा नेपाली भाषाबारे दिइएको ज्ञानका कारण । यसरी हेर्दा सरल रूपले नै देखिने कुरा के हो भने हामी आफूलाई जे हो भनिरहेका छौं त्यो कुनै समय अर्धचेतनामा दिइएको सूचनाकै पुनरावृत्ति हो । त्यसैले हामी हाम्रो अर्धचेतनामा के हालिरहेका छौं त्यो ज्यादै महत्त्वपूर्ण हुन्छ । राम्रो पुस्तक हालेका छौं भने त्यसले एकदम राम्रो चेतनाको विकास गर्छ । असल चेतनाले प्रज्ञासम्म पुग्नका लागि उत्प्रेरित गर्छ ।
भनेपछि मोक्षका लागि पनि पुस्तक सहायक सिद्ध हुने भयो । होइन ?
पुस्तक पढ्नु त राम्रो हो । तर, जुनसुकै पुस्तक पढ्नु राम्रो होइन । पुस्तक ज्ञानसँग सम्बन्धित भए पनि सबै पुस्तकले ज्ञान दिँदैनन् । कतिपय पुस्तकले उल्टै भ्रान्ति थपिदिन्छन् । जस्तो कि तपाईं कुनै अश्लील पुस्तक वा राग र द्वेष बढाउने खालका पुस्तक पढ्न पुग्नुभयो भने तपाईंको अर्धचेतना क्लेशहरूले ग्रस्त हुन्छ । क्लेश ज्ञान होइन, त्यो भ्रान्ति हो र यसले दुःख दिन्छ । यस्ता हजारौं हजार पुस्तक छन् संसारमा, जो पढ्दा उल्टो दुःख बढ्छ । जबकि, कुनै उत्तम पुस्तकले तपाईंको क्लेशलाई नास गर्न ज्यादै मद्दत गर्छ । त्यस्ता पुस्तक खोजी–खोजी पढिरहनुपर्छ ।
पुस्तक कुन राम्रो हो भनेर कसरी थाहा पाउने त ?
राम्रो के हो भन्ने कुनै एउटै परिभाषा छैन । मान्छेपिच्छेका रुचिले मान्छेपिच्छे राम्रा कुरा जन्मिन पुग्छन् । एउटालाई राम्रो लागेको अर्कोलाई राम्रो लाग्छ भन्ने पनि छैन । सामान्य ढंगले भन्दा हामीले जे खोजेका छौं त्यही कुरा कुनै तरिकाबाट पाउँछौं भने त्यसलाई राम्रो भन्छौं । पुस्तकका हकमा पनि यो लागू हुन्छ । कोही पैसा कमाउन चाहन्छ भने उसका लागि त्यस्तो जानकारी दिने पुस्तक राम्रो भयो । कुनै महिला एक असल आमा बन्न चाहन्छिन् भने उनका लागि यसबारे लेखिएका पुस्तक राम्रा हुने भए । कोही दुःखबाट मुक्ति चाहन्छ भने उसका लागि दुःख मुक्तिका उपाय बताउने पुस्तकै राम्रा हुन् । त्यसैले म भन्छु– राम्रो पुस्तक कुन हो भन्ने जान्न मेरो रुचि के हो भनेर थाहा पाउन जरुरी छ ।
तपाईंका रुचि के थिए र कस्ता पुस्तक छान्नु हुन्थ्यो ?
मलाई सानैदेखि धर्म र अध्यात्ममा रुचि थियो । त्यसो हुनाले धर्म र अध्यात्मबारे लेखिएका पुस्तकहरू नै म पढ्थें ।
तपाईंको प्रिय पुस्तक पनि हुँदो हो नि !
२० वर्षसम्मको औपचारिक अध्ययनका दौरान मैले धेरै नै पुस्तक पढें । तर, एउटा पुस्तकले जति मलाई कुनै पुस्तकले प्रभाव पारेन । म सात–आठ वर्षको हुँदा एकजना गुरुले त्यो पुस्तक मलाई पढ्न दिनुभएको थियो, जो पढेपछि मेरो जीवनको बाटो नै मोडियो । आजसम्म पनि म त्यो पढिरहन्छु, यसका बारेमा चर्चा गर्न मन पराउँछु र त्यो हर कोहीलाई पढ्न सुझाउँछु । मैले शिष्यहरूको मोक्षका लागि तयार पारेको ध्यान र साधनासँग सम्बन्धित ‘रेपा प्रोग्राम’ समेत यही पुस्तकबाट अनुप्राणित छ ।
त्यो पुस्तकको नाम छैन ?
छ नि, ‘लाइफ अफ मिलारेपा’ जो नेपालीमा पनि अनूदित छ अहिले त, ‘मिलारेपाको जीवनी’ शीर्षकमा ।
के छ यो पुस्तकमा, जसले तपार्इंमा यस्तो प्रभाव पार्न पुग्यो ?
नामबाटै खुलिहाल्छ, यो पुस्तक मिलारेपाको जीवन कहानी हो । मिलारेपा हजार वर्षअघि तिब्बतमा जन्मिएका एक महातपस्वी हुनुहुन्छ । जीवनका अनेक प्रतिकूलता र धेरैको हत्यासम्म गरेको अत्यन्त खराब र पापपूर्ण कर्मका बाबजुद पनि गहिरो तपस्या र साधनाका बलले उहाँले प्रज्ञा अर्थात् बुद्धत्त्व पाएरै छाड्नुभयो ।
अरू धेरैलाई झैं मलाई पनि के लाग्थ्यो भने हामीजस्तो सामान्य मान्छेले यो जुनीमा बुद्धत्त्व पाउन सम्भव छैन । हाम्रा लागि मोक्ष–लाभ त असंख्य जुनीमा पछि मात्रै हुन्छ होला । मिलारेपाका बारेमा पढेपछि भने मलाई यही जुनीमा मुक्ति सम्भव छ भन्ने भाव जाग्यो । त्यतिका मान्छे मारेर र अनेक पाप गरेर पनि मिलारेपा बुद्ध बन्न सम्भव छन् भने म बुद्ध बन्न किन सम्भव छैन भन्ने प्रश्न मभित्र जाग्यो । अनि एक गहिरो प्रेरणा पनि मिल्यो । कसैलाई बुद्धत्त्वको मार्गमा कुनै कुराले डोर्‍याउँछ भने त्यो निकै महान् कुरा हो । मिलारेपाको जीवनी मेरा लागि त्यस्तै महान् पुस्तक हो । मोक्षमार्गका धेरै पथिकका मनमा उठ्ने अनेकन प्रश्नको उत्तरमा म मानिसहरूलाई यही पुस्तक पढ्न सुझाउँदै आएको छु ।
मानिसहरू मलाई सोध्ने गर्छन्, ‘रिन्पोछे, यो रेपा प्रोग्राम के हो ?’ म भन्छु, ‘मिलारेपाको जीवनी पढ अनि बुझ्नेछौ ।’ कोही जान्न चाहन्छन्, वज्रयानलाई कसरी बुझ्ने ? म भन्छु, ‘मिलारेपाको जीवनी पढ’ । फेरि कोही जान्न चाहन्छन्, ‘गुरुप्रति श्रद्धा बढाउने कसरी ?’ तिनलाई पनि मैले भन्ने उही हो, ‘मिलारेपाको जीवनी पढ’ । मोक्षका लागि चाहिने श्रद्धा, प्रज्ञा, धैर्य, उत्साह, साधना, लगन इत्यादि सबै कुरा मिलारेपाको जीवनीमा छ । त्यो एक अद्भुत रूपले सुन्दर पुस्तक हो । म सबलाई भन्छु, एक पटक यो पढ्नुस् । पढ्न सरल छ यो पुस्तक । कुनै शास्त्रको भारी गन्थन छैन । र, पनि शास्त्रहरूको शास्त्र हो यो फेरि ।
यसबाहेक अरू पनि कुनै पुस्तक छन् तपाईंलाई मन परेका ?
नभएका त होइनन् । तर, चर्चा नै चलाउनुपरे र कसैलाई पढ्न सिफारिसै गर्नुपरे मैले नाम लिने अरू दुई पुस्तक छन् । पहिलो हो, ‘वर्डस् अफ माई पर्फेक्ट टिचर’ । उन्नाइसौं शताब्दीमा निर्वाण लाभ गर्नुभएका योगी जा पार्तुलले लेख्नुभएको पुस्तक हो यो, जो पढ्दा ज्ञान र आनन्द दुवैको वर्षा हुन्छ । अर्को यस्तै अद्भुत पुस्तक छ, ‘द ज्वेल अर्नामेन्ट अफ लिवरेसन’ । यो पुस्तक चाहिँ मिलारेपाका शिष्य गम्पोपाले हजार वर्षअघि लेख्नुभएको हो । यसको नेपालीमा सुन्दर अनुवाद पनि भएको छ अहिले त जसको शीर्षक छ, ‘सद्धर्मचिन्तामणीमोक्षरत्नालङ्कार’ । यी दुवै पुस्तक उत्तिकै राम्रा र गहकिला छन् । मोक्षको मार्गमा हिँड्न चाहनेका लागि म यी पुस्तक पढ्न सुझाउँछु ।
त्यसपछि मलाई मन परेको अर्को पुस्तक हो शान्तिदेवको ‘वोधिचर्यावतार’ । यो अद्भुत पुस्तकले बोधिसत्त्व कसरी बन्ने भन्नेबारे निकै प्रभावकारी ढंगले हामीलाई मार्गदर्शन गर्छ । यो किताब छैटौं शताब्दीका प्रसिद्ध तपस्वी र चौरासी महासिद्धमध्येका एक आचार्य शान्तिदेवले संस्कृतमा लेख्नुभएको हो । यसमा बोधिसत्त्व को हो, कसरी बन्ने, बोधिसत्त्वले कसरी हिँड्ने, बोल्ने, सोच्ने लगायतका तमाम सवालका जवाफ छन्, जो साह्रै सुन्दर ढंगमा लेखिएको छ । त्यसैले म भन्छु, यो पुस्तक बोधिसत्त्वहरूको संविधान हो । बोधिसत्त्व भनेको ज्ञानले बुद्धत्वको अधिकारी भइसकेको, तर संसारको करुणाले मोक्ष भूमिमा नगई प्राणीहरूको हितका लागि चर्या गर्ने योगी हो । जोसुकैलाई पनि बोधिसत्त्वको अधिकारी छ । हरेक मानिसको आध्यात्मिक विकासले उसलाई बोधिसत्त्व बनाउने क्षमता राख्दछ । कसैलाई बोधिसत्त्व बन्ने अन्तप्रेरणा जगाउन यो जत्तिको राम्रो पुस्तक अर्को छैन ।
अध्यात्म आफैंमा एउटा विशाल संसार हो । यसका अनेक दर्शन छन् । यो सबैबारे जानकारी दिने कुनै पुस्तक छ ?
छ । त्यो अपूर्व पुस्तकको नाम गुरु हो । यो पुस्तक पाउन भने सजिलो छैन, किनभने बजारमा बेच्न राखिएको हुँदैन । यो त खोज्नुपर्छ जीवनै लगाएर । अनि भेटिएपछिको आनन्द वर्णानातित छ । गुरुले दिने ज्ञान पुस्तकले दिनेभन्दा भिन्नै र अनौठो हुन्छ । मैले वर्षौं लगाएर पढेका पुस्तकले दिएका सबै ज्ञान मेरा मूलगुरुको दर्शनले होचा सावित गरिदिएको थियो । जिज्ञासाहरू जगाउन पुस्तक पढ्नुपर्छ । त्यसलाई मेटाउन गुरु भेट्नुपर्छ । सबै जिज्ञासा मेटाउने गुरुजत्तिको अर्को खँदिलो पुस्तक छैन जो कागजका पानाहरूमा होइन, मान्छेको काय, वाक् र चित्तमा आएको हुन्छ । त्यसैलाई हामी गुरु भन्छौं ।
पुस्तकहरू मानचित्रजस्ता मात्रै हुन् । मानचित्रले हामीलाई कहीँ जाने बाटाको नक्सासम्म देखाइदिन सक्छ । पुग्नु त फेरि आफैं पर्छ । गुरु चाहिँ त्यो बाटोमा हिँड्नका लागि हात समातेर हौसला दिने सारथिसम्म हो । हिँड्नु आफैं पर्छ । पुस्तकले बाटोको ज्ञान दिन्छ, तर पुर्‍याइदिनसक्दैन । त्यसैले पुस्तकै मात्र पढेर बसिराख्नु हुँदैन । आफैं ज्ञानको खोजीमा पनि निस्कनुपर्छ । जसरी मानचित्र मात्र हेरेर बस्न हुँदैन, त्यहाँसम्म पुग्न पाइला पनि चाल्नुपर्छ ।

कोसेली

सुस्त सिकार–नीति, रुष्ट रैथाने

- कमल थापा


ढोरपाटन सिकार आरक्षमा सन् २०१६ मा २ हजार २ सय २ को संख्यामा रहेको नाउर सन् २०२१ मा घटेर १ हजार २ सय ९० पुगेछ भने ३ सय ८८ को संख्यामा रहेको झारल बढेर ७ सय ४४ भएछ । यी पाँच वर्षमा नाउर र घोरलको संख्यामा भएको विपरीत घटबढले मेरो शोधार्थी स्वभावलाई थप शोधप्रश्न र खुल्दुली बढाइदियो । हुन सक्छ, उक्त क्षेत्रमा नेपाल सरकारले कानुनबमोजिम सिकार गर्ने अनुमति दिएकाले संख्यामा घटबढ भयो । अर्को महत्त्वपूर्ण चित्र छ– नाउर लगभग शतप्रतिशतले घट्ने, तर झारल शतप्रतिशतभन्दा धेरैले बढ्ने । जबकि उक्त अवधिमा सिकार गर्ने कोटा निर्धारण तोकिएको थियो । मेरो अनुभवले भन्छ, यदि प्राकृतिक प्रकोप वा मानवीय उथलपुथल भएमा मात्रै नाउर र झारलको संख्यामा व्यापक परिवर्तन हुन्छ, अन्यथा नाउरको संख्या स्थिर रहन्छ ।
सोही क्षेत्रमा पहिलोचोटि नाउरसम्बन्धी अध्ययन गर्ने नर्वेजियन जीवविज्ञ प्राध्यापक पेर वेग्गेले पनि लामो अनुसन्धानपश्चात् ढोरपाटनका नाउर र झारलको संख्या स्थिर प्रकृतिको रहेको छ भन्ने कुरा आफ्नो प्रतिवेदनमा लेखेका छन् । नाउर र झारलको संख्यामा यसरी नै व्यापक फेरबदल आएमा ढोरपाटनमा दीर्घकालीन रूपमा सिकार गराउन सकिएला त ? यति ठूलो स्तरमा घटबढ हुनुको कारण के होला ?
उसो त, प्राविधिक कोणबाट हेर्दा प्रकृतिको अध्ययन गर्नु उति सहज छैन । नाउर तथा झारलको बासस्थान दुर्गम क्षेत्रमा रहने हुनाले सर्वेक्षण गर्दा पर्याप्त खाना तथा बन्दोबस्तीका सामान, भरपर्दो उपकरण, निश्चित विधि, मौसम, समयावधि, सम्बन्धित भूगोलको ज्ञान, नक्सा अध्ययन गर्न सक्ने अनुभव तथा दक्षताका साथै वन्यजन्तुप्रतिको लगाव र प्रेरणा आदिको अनिवार्यता हुन्छ नै । यी कुरा ज्यादै संवेदनशील र महत्त्वपूर्ण छन् । पूरक प्रश्न गर्नुपर्ने हुन्छ, विगतका सर्वेक्षणहरूको नतिजा र हालको नतिजामा फराकिलो भिन्नता आउनुमा कतै उपर्युक्त कुरामा तलवितल त परेन ? हिउँचितुवाको मुख्य प्राकृतिक आहार नाउर र झारल भएकाले कतै हिउँचितुवाकै कारण पो यी दुईको संख्यामा ठूलो घटबढ भएको हो कि ? योभन्दा धेरै महत्त्वपूर्ण प्रश्न छ, निकुन्ज र ढोरपाटन सिकार आरक्षवरपरका आदिवासी मगर तथा स्थानीय बासिन्दाहरूसँगको द्वन्द्वका कारणले गर्दा पो यस्तो भएको हो कि ?
प्राध्यापक पेर वेग्गेले गरेको दुईवर्षे अध्ययनपश्चात् प्रकाशित सन् १९७९ को प्रतिवेदनको आधारमा तत्कालीन श्री ५ को सरकारले सन् १९८३ (विसं २०४०) मा ढोरपाटन क्षेत्रलाई सिकार आरक्ष स्थापना गरी १९८७ (विसं २०४४) मा राजपत्र मा प्रकाशित गरी कानुनी रूपमा सिकार कार्यक्रम सञ्चालनमा आएको हो । भौगोलिक रूपमा १३२५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यस आरक्षले बाग्लुङ, म्याग्दी र रुकुम जिल्लालाई छोएको छ । नेपालको पहिलो र एक मात्र यो सिकार आरक्षको मुख्य उद्देश्य नाउर र झारललगायत बँदेल, मृग आदिको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रही अन्तर्राष्ट्रिय विश्व संरक्षण संघ (आईयूसीएन) को सिकारसम्बन्धी दिशानिर्देशन तथा मापदण्डअनुसार वैज्ञानिक अध्ययन गरी कोटा निर्धारणका आधारमा साहसिक सिकार गराउने (मनोरञ्जनात्मक साहसी खेल) र उच्च पहाडी पर्यावरणीय सन्तुलन कायम राख्दै पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने रहेको छ । आईयूसीएनको सिकारसम्बन्धी निश्चित मापदण्ड छन् । पहिलो– सिकारको कोटा निर्धारणपूर्व कम्तीमा पनि वर्षको दुई पटक (पहिलो सर्वेक्षण हिउँद र त्यसलगत्तै वसन्तमा) सर्वेक्षण गरेर मात्रै वयस्क भाले नाउरको संख्याका आधारमा सिकार गर्न कोटा निर्धारण गर्नुपर्ने । दोस्रो– तथ्यांकबाट आएको जम्मा जनावर संख्याको बढीमा दुई प्रतिशत र जम्मा वयस्क भालेको संख्यामध्ये बढीमा २५ प्रतिशत मात्र सिकारका लागि कोटा निर्धारण गर्नुपर्ने । तेस्रो– कम्तीमा पनि ६० वयस्क भाले बराबर १०० वयस्क पोथीको लैङ्गिक अनुपात हुनुपर्ने, साथै बच्चाको जन्मदर र मृत्युदरलाई आधार मान्नुपर्ने । अर्को महत्त्वपूर्ण कुरा– सिकारका कारण हिउँचितुवालगायत मांसाहारी जनावरलाई नकारात्मक प्रभाव पर्न नदिने हो । विडम्बना ! प्राध्यापक पेर वेग्गेदेखि यताका योजनामा ढोरपाटनका हिउँचितुवासम्बन्धी कुनै अध्ययन गरेको पाइँदैन । आईयूसीएन (२०१८) अनुसार हिउँचितुवा असुरक्षितको सूचीमा पर्छ भने नेपालको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षितको सूचीमा पर्छ । तर, ढोरपाटनमा नाउर तथा झारलको सिकार गरेमा हिउँचितुवालाई पर्न सक्ने असरबारे ठोस योजना तर्जुमा नगरेकाले त्यहाँको पारिस्थितिकीय प्रणालीबारे पनि दीर्घकालीन योजना नभएको प्रस्ट हुन्छ । ढोरपाटनमा रहेका हिउँचितुवाको संख्या र आहारका लागि नाउर र झारलको पर्याप्तताबारे पनि विश्लेषण योजना भेटिँदैन । यस्तो योजनाबिना क्रमिक रूपमा सिकार गर्न दिनु जीव संरक्षण विज्ञानको हिसाबले बिलकुल प्रतिकूल मानिन्छ । ज्याकसन र अह्ल्बर्न (१९८९) को अनुसार, एउटा हिउँचितुवा बाँच्नका लागि वार्षिक कम्तीमा पनि २० देखि ३० नाउर तथा झारल आवश्यकता पर्छ, जसमा १५० देखि २५० नाउर तथा झारलको संख्या व्यवहार्य मानिन्छ । त्यस क्षेत्रमा अन्य आहारजन्य प्राणी छ भने उल्लिखित व्यवहार्य संख्या कम पनि हुन सक्छ । २०२१ को नाउर र झारलको संख्यात्मक तथ्यांकअनुसार, नाउर र झारलको उक्त संख्या (१२९० र ७४४) ले ८ देखि १० हिउँचितुवा ढोरपाटनमा व्यवहार्य देखिन्छ ।
१९७९, १९८१, २००७, २०११, १६४८, २०१६ र २०२१ मा भएका अध्ययनहरूका आधारमा भन्नुपर्दा यहाँका नाउर र झारलको संख्या स्थिर हुनुपर्नेमा निकै आरोह–अवरोह देखिन्छ । सही तथ्यांक जुटाउन र त्यसको विश्लेषण गर्न अनेक प्राविधिक समस्याको पक्षमा त छँदै छ, मुख्य कुरा लगानी (बजेट) को कमी देखिन्छ ।
आजभन्दा लगभग ४२ वर्षअघि शरद ऋतुमा नाउरको जन्मदर १०० वयस्क पोथी बराबर ८३ बच्चा थिए भने त्यसलगत्तैको वसन्त ऋतुमा १०० वयस्क पोथी बराबर ७३ बच्चामा झरेको थियो । तर, अहिले नाउरको जन्मदर निकै अत्यासलाग्दो गरी खस्किएको तथ्यांकले देखाएको छ । जस्तै प्रति १०० वयस्क पोथी नाउर बराबर १३ बच्चा (कार्की र थापा, २००७), २२ बच्चा (कँडेल, २०११), १२ बच्चा (ढोरपाटन सिकार आरक्ष, २०१६) र ३७ बच्चा (ढोरपाटन सिकार आरक्ष, २०२१) । यदि यो जन्मदरको तथ्यांकलाई साँच्चै भरपर्दो मान्ने हो भने ढोरपाटनमा नाउरको संख्यामा भारी गिरावट हुनुपर्ने हो र जीव संरक्षण विज्ञानको कोणबाट हेर्दा यस्तो कमजोर जन्मदर अवस्थामा नाउरको सिकार गर्न सिफारिसयोग्य मानिँदैन । सैद्धान्तिक रूपमा– नाउर तथा झारललगायत अन्य जंगली बाख्रा तथा भेडा प्रजातिमा बच्चाको जन्मदर ७० भन्दा माथि छ भने उक्त झुण्डलाई बढ्दो संख्या, ५० देखि ७० सम्मको जन्मदर छ भने स्थिर संख्या, र ५० भन्दा कम जन्मदर छ भने घट्दो संख्याको रूपमा बुझ्ने गरिन्छ । यो सिद्धान्तलाई आधार मान्दा ढोरपाटनको नाउरको संख्या निकट भविष्यमै डरलाग्दो रूपमा घट्ने आकलन गर्न मुस्किल छैन, जसले त्यहाँको पारिस्थितिकीय प्रणालीलाई नकारात्मक प्रभाव पार्न सक्नेछ ।
अर्को महत्त्वपूर्ण पक्ष– कुनै पनि योजनाको दिगोपनका लागि सम्बन्धित क्षेत्रका बासिन्दाहरूको सहभागिता र लाभको बाँडफाँट अनिवार्य मानिन्छ । सिकार योजना क्षेत्रका स्थानीय संस्कृति, मूल्य–मान्यता, परम्परागत अभ्यासलगायतलाई ससम्मान सह–व्यवस्थापन गर्नुपर्ने कुरा आईयूसीएनले पनि आफ्नो मापदण्डमा स्पष्ट सिफारिस गरेको छ । उसले अझ जोड दिँदै भनेको छ– स्थानीयलाई अर्थपूर्ण रूपले समावेश गराई सिकार योजनाबाट हुने लाभको बाँडफाँट बराबरी बाँडे मात्रै योजनाले दीर्घकालीनता पाउन सक्छ । तर, विडम्बना ∕ ढोरपाटन सिकार आरक्षले स्थानीयको सहभागिता र लाभांश बाँडफाँटमा अहिलेसम्म उदासीनता देखाएको छ ।
ढोरपाटन क्षेत्रका बासिन्दाहरू आदिवासी मगर र अरू स्थानीयहरूमा विश्वकर्मा, छन्त्याल र नौथर जातिका पर्छन् । मगर (खाम) भाषामा ‘ढोर’ को अर्थ बस्तुभाउ (भेडा, बाख्रा, गाई गोरु, भैंसी र घोडा) हो भने पाटनको अर्थ खर्क (बुकी) हो, अर्थात्– बस्तुभाउ चराउने क्षेत्र बुकी । आदिवासी मगर तथा स्थानीयले ढोरपाटन बुकीमा सदियौँदेखि आफ्नो संस्कृति, मूल्य–मान्यताअनुसार त्यहाँको वातावरण र प्राकृतिक स्रोतको उपलब्धतासँग अनुकूलन हुनका लागि थुप्रै रैथाने अभ्यास गर्दै सोही ज्ञानकै आधारमा त्यस क्षेत्रका भूगोल र प्राकृतिक स्रोत तथा वातावरणलाई बुद्धिमतापूर्वक उपभोग तथा संरक्षण गरेको पाइन्छ । त्यहाँको प्राकृतिक स्रोत र आदिवासी मगरको यही अन्योन्याश्रित सह–अस्तित्वको सम्बन्ध स्विकार्दै नाउर तथा झारल गणनादेखि सिकार कार्यक्रमसम्म स्थानीयलाई सहभागी गराउनुपर्नेमा यस्तो अहम् पक्षलाई नजरअन्दाज गरिएको छ । न्यायोचित लाभांश बाँडफाँटको कुरा त झन् ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखानसँग मेल खान्छ । उदाहरणका लागि नाउर तथा झारलको सिकारबापत उठाउने राजस्व राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले लिन्छ । तर, यसको लाभबाट स्थानीय वञ्चित छन् । सिकार गर्न आउने विदेशीहरू ढोरपाटन क्षेत्रमा आवतजावतका लागि हेलिकप्टर प्रयोग गर्छन् । उनीहरूलाई आवश्यक जनशक्ति, बसोबासको व्यवस्था र खानासमेत काठमाडौंका ट्रेकिङ कम्पनीले जिम्मा लिएका हुन्छन् । प्रश्न उठ्छ, पुर्खौं–पुर्खादेखि संरक्षण गरेर राखेको प्राकृतिक स्रोत–साधनबाट स्थानीयले के पाए ? आकाशतिर फर्केर हेलिकप्टरको रमिता हेर्ने, विदेशीले आफ्नो भूमिमा वन्यजन्तुको सिकार गरेको टुलुटुलु हेर्ने र तिनै ‘सिकारी’ हरूले छाडेका फोहोर उठाउने ! स्थानीयको भागमा आइलागेका कुरा यिनै हुन् । आफ्नै पुर्ख्यौली भूमिमा बिस्तारै ‘अन्यकरण’ मा पारिँदै लैजाने अहिलेका नीति तथा अभ्यासप्रति ढोरपाटनका आदिवाशी तथा स्थानीयहरू भित्रभित्रै रुष्ट हुँदै गएको यथार्थप्रति राज्यले आँखा चिम्लिदिएको छ, जसले भोलिका दिनहरू उति सहज देखापर्दैन ।
सिकार अनुमति नवीन वैज्ञानिक विधि–प्रविधिका साथै यथेष्ट लगानी, दक्ष जनशक्तिको प्रयोग गर्नबाट अब पनि हामी चुक्यौँ भने हाम्रो भोलिको गन्तव्य विकरालता टुंगिनेछ । अतः दिगो संरक्षणको लक्ष्यसहित मानव–वन्यजन्तुको सह–अस्तित्वलाई स्विकार्दै विद्यमान नीति तथा कार्यक्रम र अभ्यासहरूको गहन समीक्षा गरी स्थानीय आदिवासीसँग हातेमालो गर्दै योजनाको न्यायोचित लाभ बाँडफाँट गर्ने गरी वैज्ञानिक ढंगले योजना तर्जुमा गर्नुको विकल्प राज्यसँग छैन । दीर्घकालीन वैज्ञानिक योजनाले नै स्थानीय र निकुन्जबीच उत्पन्न द्वन्द्वलाई कम गर्न सकिन्छ अनि प्राकृतिक स्रोतको संरक्षण गर्दै उपयुक्त अन्य स्थानहरूको खोजी र विस्तारमा सघाउ पुग्नेछ ।
(थापा वन विज्ञान अध्ययन संस्थानमा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा विद्यावारिधि गर्दै छन् ।)

Page 12
कोसेली

पाइला पाइलामा पर्खाल

- कुमारी लामा

 


उबेला म बिलकुल अनविज्ञ थिएँ पर्खालबारे । लाग्थ्यो, फटाहाहरूबाट जोगिने एक सुरक्षित घेरो हो पर्खाल । ढुक्क थिएँ पर्खालले सुरक्षा, आश्रय र जीवन दिन्छ भन्नेमा । ठान्थेँ पर्खालले आड दिन्छ, साथ दिन्छ, भरोसा भर्छ । अझ जब्बर थियो बिश्वास कि अग्लिँदै गरेका भित्ताहरू हाम्रै भलाइका खातिर हुन् । यद्यपि यतिखेर भने बिलकुल फेरिएको छ मेरो पर्खाल–बुझाइ । पर्खालले सुरक्षा दिनुभन्दा बढी निषेध लगाउने रहेछ । अघोरै गर्ने रहेछ दादागिरी । आकासिएका पर्खालहरू, अग्ला सिंहासनमा बिराजमान शासकसरह हुँदा रहेछन् । यसले सुरक्षाभन्दा बढी सेप दिनेरहेछ भुइँकाहरूलाई । अनि हरदम निगरानी र निषेध मात्रै थोपर्ने रहेछ पर्खाल उक्लन खोज्नेहरूलाई । रोक्ने रहेछ अघि बढ्न चाहने एक एक पाइला । र, बारम्बार बाधा अड्चन खडा गरिदिने रहेछ प्रतिरोधी चेतनाहरूलाई । यसबखत म त्यही पर्खाल राजनीतिमाथि घोत्लिरहेछु ।

आदिवासी पर्खाल
आदिवासी पहिचानसँग विशेष महत्त्वका साथ जोडिने क्षेत्र हुन् जल, जमिन र जङ्गल । जसले समेट्छ निश्चित भूगोल, प्राकृतिक स्रोतसाधन साथै मानवसमाजको विकासक्रमसँगै निर्माण भएको भाषा, सांस्कृतिक लगायतका अन्य पर्यावरण पनि । आदिवासी सौन्दर्यशास्त्र, रैथाने ज्ञान र विशिष्ट विश्वदृष्टि पनि आदिवासी पहिचानका अभिन्नपनाभित्र पर्छन् । अन्तर्राष्ट्रिय श्रम
सङ्गठनको महासन्धि आईएलओ १६९ ले आदिवासिको अधिकारलाई सन् १९८९ मै सुनिश्चितता गरिसकेको छ । नेपाल सरकारले पनि सन् २००७ मा संसद्मार्फत अनुमोदन गरेको थियो । तथापि आदिवासीमाथिको पुँजीवादी अतिक्रमण बढ्दो छ । विकासको पछिल्लो मोडलले आदिवासी पहिचानको सवाललाई गहिरो प्रभाव पारिरहेको छ ।
यसखाले अतिक्रमणको सुरुवात निकैअघि भएको थियो । चाहे नेपालमा होस् या विश्वमै, आदिवासीका निम्ति ठड्याइएको पर्खालाको जब्बरता बुझ्न इतिहासका केही पाना पल्टाउनै पर्छ ।
सन् १४४२, अक्टोबर १२ मा कोलम्बसले टेक्नुअघि सान साल्भाडोर टापुवासीको जीवन बडो शान्त थियो । प्राकृतिक लयसँगै बगिरहेको थियो समान्य जीवन । तर, कोलम्बसले त्यस ठाउँमा पाइला राखेलगत्तै बदलियो जीवनलय । ‘बेरी माई हार्ट एट उन्डेड नि’
(१९७०) पुस्तकमा डी ब्राउनले अमेरिकी आदिवासी नियतिको इतिहासलाई बडो मार्मिकताका साथ उतारेका छन् । कोलम्बस–प्रवेशको चार शताब्दीसम्म त्यहाँका आदिवासीमाथि अकल्पनीय शोषण भयो । अन्त्यहीन युरोपियन लस्कर ओइरिए । आदिवासी भूमि, स्रोत, साधन र संस्कृति ध्वस्त नभएसम्म ढलीमली गरे । कोलम्बसले आफूलाई स्वागत गरी उपहारसमेत टक्र्य्राएका टायनो समुदायका दस जनालाई बन्दी बनाई स्पेनतिर लगेका थिए । तीमध्ये एक जना बाटामै मरे, जसलाई मर्नुअघि बाप्टाइज गर्न भ्याए । स्पेनीको खुसीको सीमा थिएन किनकि उनीहरू पहिलो इन्डियनलाई स्वर्ग पुर्‍याउन सफल भएका थिए । यस खुसखबरीलाई उनीहरूले यति प्रचार गरे कि, केही शताब्दीमै प्रत्येक इन्डियानोको हातमा बाइबल थमाई उनीहरूको जमिन र स्रोतसाधन आफ्नो हात पार्ने काम तमाम पारिसकेका थिए ।
यसबीच कोलम्बसले इन्डिओस् नाम दिएका टायनोस समुदायको भूमि मात्रै नभई विभिन्न ठाउँका चेरोकी, सियोक्स, अपाचे, नाभाहो लगायत अनगिन्ती आदिवासी समुदायको भूमिमा यति अग्ला पर्खालहरू खडा गरे कि उनीहरूका निम्ति आफ्नै भूमि पराया भयो । अत्याचार, दोहन र हत्याको खतरनाक शृङ्खला चालु थियो । यतिसम्म कि चार जना डच सेना मारिएको निहुँमा म्यानहाटन टापुको एक गाउँमा रातको समय पारी सारा गाउँलेको हत्या गरिएको थियो (ब्राउन, पृ.४) । युरोपियन उपनिवेशवादी शक्तिको दबदबामा अमेरिकी आदिवासी मात्रै नभई अस्ट्रेलिया, क्यानडा आदि देशका आदिवासी पनि उत्तिकै दोहनमा परे । आज पनि क्यानडामा मिसिङ एन्ड मडर (एमएम) केसमा सबभन्दा बढी आदिवासी समुदायका महिला पर्छन् । यसो हुनुको कारण निश्चत नै उनीहरूको दोहनपूर्ण इतिहाससँग जोडिन्छ । नेपालका आदिवासीको सन्दर्भमा पनि दमनको लामै इतिहास जोडिएको छ । यहाँको आदिवासी समुदायमाथिको दोहनको प्रकृति भने बाहिरको भन्दा भिन्न छ । विश्लेषकहरू यहाँका विभिन्न समुदाय आन्तरिक उपनिवेशवादको सिकार भएको दाबी गर्छन् । विशेषतः तामाङ समुदायमाथि भएको शताब्दिऔं लामो शोषणसँग विशेष जातिवर्गका शासकहरूको दमनकारी नीतिको ठूलो भूमिका देखिन्छ । यस विषयमा निकै अघि नै विदेशी शोधकर्ताहरूले केही महत्त्वपूर्ण खोज विश्लेषण गरिसकेका छन् ।
नेपालका शासकले यहीँको पर्यावरण सुहाउँदो व्यवस्थाहरूको निर्माण गरी विभिन्न समुदायमाथि अत्याचार गरेको जगजाहेर नै छ । त्यसमा मुख्यतः जातव्यवस्थाको वैधानिकीकरणले खेलेको भूमिका निकै डरलाग्दो छ । छब्बीस सय वर्षअघिको मनुस्मृतिको लय पक्रेर ६ सय वर्षअघि नै जयस्थिति मल्लले बीजारोपण गरेको जातव्यवस्थादेखि राम शाहको ‘छब्बीस कानुन’ (स्थिति) हुँदै, पृथ्वीनारायण शाहको ‘नयाँ कानुन’ को बाटो गरी छिरेको जङ्गबहादुरको ‘मुलुकी ऐन’ (१९१०) र त्यसपछिको महेन्द्रीय ‘एक भाषा एक भेष’ रणनीतिले सदा जातव्यस्थालाई अँगाल्यो (एन्ड्रास होफर, २००४) । यस व्यवस्थाले कसलाई पर्खालभित्र पारी कसलाई पर्खाल बाहिर गलहत्यायो मनन गर्न अबेला भइसकेको छ । जातव्यवस्थाको सबभन्दा पीँधमा पारिएका दलित र त्यसभन्दा एक इन्चमाथिको तामाङ समुदायमाथि सबभन्दा बढी दोहन भएको प्रस्टै छ । तथाकथित अछुत भनी थोपरिएको नियमले दलित समुदायमाथि गरेको अन्यायले दिएको पीडा, तथाकथित छुत भनिएका हामी सबैको कल्पनाभन्दा निकै पर छ । सरिता परियारको ‘छुत योनिको अछुत कथा’ (चैत ३, २०७४, कान्तिपुर) को मर्म र संवेदनशीलताको एक छेउ समाउनु पनि मेरो बसभन्दा बाहिर पर्छ । तथापि,
जङ्गबहादुरको कानुनले ‘मासिन्या मतवाली’ घोषित तामाङ समुदायको पीडाको फेहरिस्त पनि अत्यन्त लामो र गहिरो छ । ती छिचोलिनसक्नुको पर्खाल आजसम्म भत्कन सकेका छैनन् । त्यसै पर्खालको जगमा आजपर्यन्त सलबलाइरहेको छ तामाङ समुदायले भोगेको ‘रकम’ प्रताडना ।
विगतमा कानुनी वैधानिकताका साथ नेपालका शासकहरूले तामाङ समुदायमाथि गरेको अन्याय र अत्याचारका अनेक चेहराहरू उजागर भइरहेका छन् । जसमा ‘रकम’ व्यवस्था निकै गम्भीर र मर्मभेदी विषय छ । त्यस विषय तामाङ समुदायको आजको सामाजिक–आर्थिक हैसियत र स्रोत र साधनमाथिको निम्न पहुँचसँग ठाडै जोडिन्छ । मानवशास्त्रीद्वय डेभिड होमवर्ग र क्यथरित एस. मार्चले यस समुदायबारे लामो अनुसन्धान गरी तयार पारेको शोधलेख ‘लोकल प्रडक्सन/लोकल नलेज ः फोर्स्ड लेबर फ्रम बिलो’ ले प्रकाश पारेको ‘रकम’ व्यवस्थाले यस समुदायले भोगेको अत्याचारपूर्ण समयलाई जीवन्त पारिदिन्छ । ‘रकम’ ले बिनाज्याला गर्नुपर्ने अनिवार्य श्रमलाई जनाउँछ । राणाकालीन समयमा तामाङ समुदायमाथि थोपरिएको यस किसिमको श्रम व्यवस्थालाई
‘वेङ्गी रकम’ साथै ‘कागते रकम’ भन्ने गरिन्थ्यो, जो फोसा श्रमसँग सम्बन्धित थियो (होमवर्ग र मार्च, १९९९) । विशेष गरी नुवाकोट, धादिङ र रसुवाको सिमाक्षेत्र, त्रिशूलीको मलिलो फाँटमा लगाइएको शाही बगानदेखि यिनै जिल्लाका विभिन्न ठाउँमा भएका शाही गोठको गोठालो र नेपाली कागज निर्माणका निम्ति त्यहाका स्थानीय आदिवासी तामाङ समुदायलाई परिचालन गरिन्थ्यो । उनीहरूलाई बाध्यात्मक श्रम र प्रायःजसो फोसामा या अत्यन्त न्यून बेतनमा काम गर्न बाध्य पारिन्थ्यो । उनीहरू आफ्नो शरीरको रगत र पसिनाका प्रत्येक बुँदले सिञ्चन गरी फलाएको फल या पारेको दूध, घिउ चाख्नसम्म पाउँदैनथिए । त्रिशूली उपत्यकाको बगानबाट समयअनुसारको फल गोटागन्ती गरी ढाकरमा भरिन्थ्यो र तीन दिनसम्म बोकेर उनीहरूले दरबारहरूमा पुर्‍याउनुपर्थ्यो । उनीहरूलाई शाही कर्मचारीले भेडाबाख्रासरह लघार्दै काममा जोताउँथे ।
अत्यन्त लामो समय र कडा मिहिनेत लाग्ने नेपाली कागज निर्माणमा पनि तामाङ समुदायको बेहद शोषण भएको इतिहास छ । राणाकालमा मात्र नभई कागत बनाउन बाध्यकारी श्रममा शाह शासकहरूले पनि उनीहरूलाई कज्याएका थिए । यो सिलसिला २०१७ सालसम्मै कायम थियो । कागजी रकमसम्बन्धी अन्यायविरुद्ध भोमताङवासीको बारम्बारको प्रतिरोधपश्चात् २०१७ सालपछि मात्रै यस किसिमको बाध्यकारी श्रम व्यवस्थाको अन्त्य भएको थियो । शताब्दिऔंसम्म तामाङ समुदायले यस किसिमको शासकीय पर्खालाको सेप र रापमा धूलिसात हुनुपर्‍यो । यस व्यवस्थाले गरेका अन्याय र अत्याचारका अनेक पाटा छन्, जसमा स्वाभाविक रूपमा त्यस समुदायका महिलामाथि भएको शोषणको विषय जोडिन्छ । होमवर्ग र मार्चले प्रस्तुत गरेको एक उदाहरणले त्यसबखत तामाङ महिलाको अवस्थाबारे प्रस्ट पार्छ । एक गाउँले भन्छन् ः
‘त्यस समय शाही गोठका हाकिमहरूले गाउँलेलाई कुनै काम या व्यापारविशेषका लागि गाउँबाट बाहिर जान पनि प्रतिबन्धित गर्थ्यो । गाउँका लोग्नेमान्छेहरू गोठको कामका लागि तयार बस्नुपर्थ्यो । गाउँबाट निस्कन खोज्नेलाई ठूलो सजाय हुन्थ्यो । गाउँलेको ठूलो चाडबाड र रमाइलोको बेला राति शाही गोठका हाकिमहरू आएर केटीहरू समाएर लैजान्थे । आफ्नै छोरीचेली र स्वास्नी नै लगे पनि हामीले केही बोल्न पाउँदैनथ्यौँ (पृ. १४) ।’
आफ्नो छोरीचेलीलाई आँखाअघि नै घिसार्दा पनि नदेखेसरह बस्नुपर्ने बाध्यतामा परेका बाउ, दाजुभाइ र लोग्नेको आत्मसम्मान कति टुक्रा हुँदो हो ? बस्तुसरह प्रयोग गरी लोग्नेतिर हुत्याइदिएका स्वास्नीमाथि त्यस लोग्नेको व्यवहार कस्तो हुन्थ्यो होला ? या ती महिला, जो केवल एक मांसपिण्डसरह भएकी छ, उसको मानसिक अवस्था कस्तो हुन्थ्यो होला ?
यतिखेर म यी र यस्तै प्रश्नहरूको घेरामा परेकी छु । निकै दिगमिग लाग्छ त्यस व्यवस्था र त्यसबेलाका हर्ताकर्ताप्रति जसले पर्खाल मात्र ठड्याएन, शोषण मात्रै गरेन, उनीहरूको आत्मसम्मानमाथि नै धावा बोल्यो । अझ पनि उनीहरूकै एजेन्टहरू महिला बेचबिखनको तथ्याङ्क प्रस्तुत गर्ने नाममा तामाङ समुदायलाई कलङ्कित पारिरहन्छन् । के कसैले मनन गरेको छ, आजपर्यन्त अत्यन्त निम्न ज्यालाका काममा जोतिन बाध्य तामाङ समुदायको यस अवस्थाको खास कारण के हो ?
इमानका पर्याय बनेका नेता भीमबहादुर तामाङले २०५४, साउन १७ गते संसद्मा बोल्ने क्रममा भनेका थिए, ‘तामाङ जातिलाई दुर्भाग्यले राजनीतिक कुचक्रमा पार्दाखेरि निकै पछि पर्न गएको हो ।... लोकसेवाको पुस्तकमा लेखकहरूले तामाङ जाति छोरीबुहारी, चेलीबेटी बेच्ने जातिमा गनिन्छन् भनेर इल्जाम लगाउनेप्रति घोर आपत्ति छ ।’
भीमबहादुरले सदनमा उठाएको आवाजका कारण पचासको दशकसम्मै तामाङ समुदायमाथि भइरहेको राज्यको दमनमा केही मत्थरपना आयो । तथापि तीन दशकपछि, आजको लोकतान्त्रिक सदनमा फेरि पनि एक तामाङ सांसद स्पष्ट नेपाली भाषा बोल्न नसकेका कारण अनेक ट्रोलको सिकार हुन पुग्छिन् । यति विघ्न असामाजिक र असौहार्दता फिँजाउन सक्ने आजका पढालेखा वर्गले नेपालको आदिवासीको भाषामाथि यस राज्यसत्ताले गरेको राजनीतिको इतिहास पनि मनन गर्न जरुरी छ ।
...
अब फेरि लागौं पर्खाल र सिमानातिरै । राज्यले नै खडा गरेका तारबार र पर्खालका भोक्ता हुन् नेपालका आदिवासीहरू । त्यसमा पनि मुर्मिभोटिया भनी जातै जफत गरिएका र मासिन्या मतवाली करार भएका तामाङ समुदायमाथि यस राज्यले गरेको दमन ताजै छ । अझै खडा रहेका अनेक विभेदकारी पर्खाल, साँध र सिमाना भत्काउने प्रयास जारी छ । अव्यवस्थाका पर्खालहरू भत्काउन प्रयत्नरत प्रतिरोधी समूहमा लेखक, कलाकार अग्रपंक्तिमै पर्छन् । उनैमध्येका खरो कविता कोर्ने कवि भुपाल राईले स्मरण गराइरहन्छन्, ‘आदिवासीहरूको पहिचानसँग जमिन, जल र स्रोतसाधन मात्र नभई उनीहरूको मौलिक सौन्दर्यशास्त्र र विश्वदृष्टिसँग पनि जोडिन्छ । उनीहरूको पृथक् ज्ञानप्रणाली हुन्छ ।’ उनले वकालत गरेजस्तै मौलिक सौन्दर्यशास्त्रको पहिचानसहित अस्तित्वदावीका प्रतिरोधी आवाज यतिखेर नेपाली साहित्यमा उठिरहेको छ । त्यही हकदाबीको लहरमा खडा छिन् नेपालीभाषी भारतीय साहित्यकार पवित्रा लामा । उनको पछिल्लो उपन्यास ‘महुवा’ यसकै एक उदाहरण हो । जामतलाका आदिवासीको लुटिएको भूमि र स्वाहा पारिएको प्राकृतिक स्रोतसाधनविरुद्ध ज्यानको बाजी थापी प्रतिरोधी लडाइँमा होमिएकी छन् महुवा । थाहा छैन महुवाको लडाइँ कहिलेसम्मको हो ? किनकि उनको प्रतिरोध पुँजीवादी राज्यले पचाउन सक्दैन र बारम्बार पक्राउ गरी जेलमा कोचिरहन्छ । अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता गीतांजलि श्रीले लेखेकी छन् ः ‘सिमानाले छेक्दैन, बरु बाटो दिन्छ । एक आकार बनाउँछ । किनारा सजाउँछ । सीमाको यता पनि गुलजार हुन्छ उता पनि । ...सिमाना क्षितिज । जहाँ दुई लोकको मिलन हुन्छ, अङ्कमाल गर्छन् । बोर्डर प्रेम हो । प्रेमले कैदखाना बनाउदैन, ...बोर्डर मिलनको रेखा हो (रेत समाधि, पृ.३३१) ।’
गीतांजलिले लेखेझैं साँच्चै सिमानाले विभाजन गर्नेभन्दा जोड्ने दिन आउला ? यदि आयो भने सायद त्यही विन्दुबाट यस ब्रह्माण्डका तमामवासी समान हैसियतका हुनेछन् । यद्यपि, यतिखेरको स्थिति त्यस्तो छैन । यहाँ त हरेक कदममा पर्खाल या सिमानाले छेकेकै छ । राज्य र शासकवर्गले नै अनेक पर्खालहरूको वैधानिकीकरणद्वारा निमुखामाथि सधैं अत्याचार र दोहन गरिरहेकै छन् । यस संगीन घडीमा पर्खालको कठोरतामाथि धावा बोल्नैपर्छ । शताब्दिऔंदेखि ठडिइरहेका विभेदका अनेक पर्खालमा छिनो ठोक्नैपर्छ ।

कोसेली

बाघ र मान्छेको पुरानो 'दुस्मनी’

- दृष्टान्त विडारी


योपृथ्वी जति मान्छेको हो, उत्ति नै जनावरको पनि हो । यसमा अब थप बहसको आवश्यकता रहेन । केचाहिँ बहस गर्न ढिलो भइसक्यो भने मानव–जनावर द्वन्द्वलाई कम गर्ने व्यावहारिक उपायहरू के–के हुन सक्छन् ? ती उपाय कसरी अवलम्बन गर्न सकिन्छ ?
मान्छे र जनावरबीचको कुनै पनि भेट, जसले जनधन, बसोबास, मान्छे वा जनावरको ज्यान जोखिममा पर्छ, त्यसलाई मानव–वन्यजन्तु द्वन्द्व भनिन्छ । प्राकृतिक स्रोत र साधन उपयोग गर्ने प्रतिस्पर्धामा मान्छे र वन्यजन्तु आमनेसामने हुने गर्छन् । बाघ, हात्ती, गैंडा, ब्वाँसोजस्ता डरलाग्दा जनावर मात्रै नभएर मृग, बँदेल, मुसो आदिसँग पनि मान्छेको परापूर्वकालदेखि नै द्वन्द्व चल्दै आएको छ । अफ्रिकामा बबुन बाँदरले चौपाया मार्ने घटना होस् वा युरोपमा भालु र ब्वाँसोले गर्ने आक्रमण होस् वा नेपालमा हात्ती र गैंडाले बाली नाश गर्ने घटनै किन नहोस्, यी सबै मानव–जनावर द्वन्द्व हुन् ।
अहिले नेपालमा देखिएको डरलाग्दो र दुवै पक्षलाई घातक हुने द्वन्द्व भने बाघ र मान्छेको हो । हाम्रो देशमा १२ राष्ट्रिय निकुन्ज, एक वन्यजन्तु आरक्षण र ६ वटा संरक्षित क्षेत्र छन्, जुन देशको २३.३९ प्रतिशत क्षेत्रफल हो । यी क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज, बाँके राष्ट्रिय निकुन्ज, पर्सा राष्ट्रिय निकुन्ज र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघको बसोबास छ । यीबाहेक निकुन्जवरिपरि रहेका मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा पनि बाघहरू विचरण गरिरहेका छन् । मध्यपहाडी क्षेत्रबाट भने बाघ करिबकरिब विस्थापित भइसकेको छ ।
नेपालले ‘टीएक्सटू मिसन’ मा अपार सफलता हासिल गर्दै बाघको सङ्ख्या दोब्बर पुर्‍याएको हो । सन् २०१० मा रुसमा भएको बाघ सम्मेलनमा भाग लिँदा नेपालमा बाघको संख्या २२१ थियो । ताजा बाघ गणनाअनुसार हाल नेपालमा ३५५ वटा पाटेबाघ छन्, जसमध्ये ४९ वटा बाघ संरक्षित क्षेत्रबाहिर अभिलेख गरिएको छ ।
नेपालमा मान्छे–बाघको द्वन्द्वको इतिहास पुरानो छ । सन् १९११ मा बेलायतका जर्ज पञ्चमलाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले १० दिनसम्म सिकार खेलाएका थिए । सिकार अवधिमा ३९ वटा बाघका साथै १८ वटा गैंडा, चारवटा भालु, कैयौँ चितुवा र दुम्सी मारिएका थिए । ब्रिटिस राजपरिवारका सदस्यले नेपालमा पहिलोपल्ट सिकार खेलेको भने जंगबहादुर राणाको पालामा सन् १८७६ मा हो । प्रिन्स अफ वेल्स एडवार्डलाई जंगबहादुरले सिकारको निम्तो दिएका थिए । दुई हप्तासम्म
चलेको त्यस सिकारका क्रममा २३ वटा बाघ मारिएका थिए ।
राणा परिवारले सन् १८४६ देखि नै चितवन क्षेत्रमा सिकार गर्न थालेको पाइन्छ । अर्थात्, जंगबहादुर राणाको उदयपश्चात् नै जंगली जनावरका दुर्दिन सुरु भए । सबै राणा प्रधानमन्त्री सिकारका सोखिन थिए । त्यसमाथि राणा शासन टिकाउने एउटा अस्त्रका रूपमा ‘हन्टिङ डिप्लोमेसी’ प्रयोग भएको थियो ।
अझ विभिन्न अवसरमा हुने सिकारको गणना नै थिएन । आफू श्री ३ महाराज भएको खुसियालीमा सन् १९३२ मा जुद्धशमशेरले नवलपुरको एकै सिकारमा ४१ वटा बाघ र १३ वटा गैंडा मारेका थिए । राणा शासकका हातबाट कति जंगली जनावर मारिए, त्यसको तथ्यांक उपलब्ध छैन । अन्दाजसम्म गर्न सकिन्छ— राणा शासन जसरी नेपाली जनताका लागि अँध्यारो युग थियो, जंगली जनावरका लागि पनि अँध्यारै युग थियो ।
बाघ–मानव द्वन्द्वको प्रसंग आउनासाथ एउटा बघिनीको नाम सबैले सम्झने गर्छन्— चम्पावत । नेपाल र भारतमा गरी ४ सय ३६ जना मान्छेको ज्यान लिने चम्पावत बघिनीलाई गिनिज बुकले पनि आफ्नो पानामा समेटेको छ । उन्नाइसौं शताब्दीको अन्तिम दशक र बीसौं शताब्दीको सुरुवाती दशकमा उसले भयको साम्राज्य नै खडा गरेकी थिई । शारदा खोलाको वारि रूपाली गाउँबाट सुरु भएको मानवसँगको उसको द्वन्द्व पारि भारतसम्म पुग्यो । उसले नेपालमा २ सय जनाको ज्यान लिएकी थिई । कैयौं वर्षको सिकारको प्रयासपछि नेपाली सेनाको टोलीले उसलाई शारदा खोलापारि भारतीय भूभागसम्म लखेट्न सफल भयो । सन् १९०७ मा जिम कोर्बेटले यस नरभक्षी बघिनीको सिकार गरेका थिए ।
नेपालमा सिकार प्रतिबन्धित भएपछि बाघ मार्ने क्रम घट्यो । तर, बाघ र मान्छेको द्वन्द्व भने अद्यापि कायम छ । नरभक्षी बाघले मान्छे मारेका समाचार प्रायः आइरहन्छन् ।
हरेक वर्ष बाघको आक्रमणबाट दर्जनौं मानिसले ज्यान गुमाइरहेका छन् । पछिल्लो तीन वर्षमा १ सय ४ वटा आक्रमणमा ६२ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । हाल बाघको आक्रमणका सबैभन्दा धेरै घटना बर्दिया राष्ट्रिय निकुन्जमा भएको देखिन्छ । मान्छेमाथि भन्दा चौपायामाथि बाघको आक्रमण हुने प्रवृत्ति बढ्दो छ । चौपायामाथि आर्थिक वर्ष २०७६/७७ मा १ सय ७८, २०७७/७८ मा ३ सय ६ र २०७८/७९ मा ३ सय ३८ वटा आक्रमणका घटना भएकामा सबैभन्दा बढी बर्दियामा नै भएको देखिन्छ । जंगलमा चराउन लगिएका चौपायामाथि बढी आक्रमण भएका छन् भने गोठमा भएका चौपायालाई बाघले कम आक्रमण गर्छ ।
बाघले मान्छे तथा चौपायामाथि गर्ने आक्रमणको कारण जान्न जरुरी छ । सामान्यतया हामी बाघसँग जति डराउँछौं, बाघ पनि हामीसँग त्यति नै डराउँछ । बाघको स्वभाव उसको शारीरिक परिस्थिति, बसोवास गर्ने क्षेत्र, सिकार प्रजातिको सङ्ख्या आदिअनुसार बदलिँदै जान्छ । जब कुनै बाघ बूढो वा अशक्त हुन्छ, त्यसलाई अरू बाघले उसको आफ्नो क्षेत्रबाट भगाउँछन् र यस क्रममा उक्त बाघ मानव बस्तीतर्फ सजिलो सिकार खोज्नका लागि पस्न थाल्छ । बाघको प्रमुख आहारा मृग, चित्तल, बँदेल आदि निकै चनाखा हुन्छन् । तिनका तुलनामा मान्छे र मान्छेले पाल्ने चौपाया कम चनाखा हुन्छन् र सजिलै बाघको सिकार बन्न पुग्छन् । बाघ अशक्त हुने कैयौं कारणमध्ये दुम्सीको काँडा बिझ्नु पनि एउटा प्रमुख हो । मान्छेले थापेको पासो वा असफल सिकारको प्रयासका क्रममा स्थायी चोट लागेको बाघले मान्छे र चौपायाजस्तो सजिलो सिकार रोज्न बाध्य हुन्छ । चम्पावत बघिनीको सिकार गरेका जिम कोर्बेटका अनुसार, उसको मुखको दाहिनेपट्टिको कुकुर दाँत भाँच्चिएको थियो । त्यो चोट उसलाई मान्छेद्वारा गरिएको असफल सिकारका क्रममा लागेको थियो । जंगली जनावरसँग भएको मुठभेड र सिकारका क्रममा पनि बाघ स्थायी रूपले घाइते हुन सक्छ । यसबाहेक कैयौंपटक भने नरभक्षी माउले हुर्काएको बच्चा पनि नरभक्षी भएको देखिएको छ ।
बाघले प्रायः वनमा घाँसदाउरा, काठ, तरकारी आदि खोज्न जाने मान्छेलाई आक्रमण गरेको पाइन्छ । भारत र बंगलादेशको सीमा क्षेत्रमा बस्ने मान्छेहरू मह काढ्न जंगल पस्दा यस समस्याबाट बच्न टाउको पछाडिको भागमा मुखुन्डो लगाउने गर्छन् । नेचर गाइड र पर्यटकहरू दिनहुँजसो जंगल जान्छन् र बाघको एक झलक भए पनि पाउन चाहन्छन् ।
म आफैं पनि कैयौं पटक बाघको फोटो खिच्न जंगल चहारेको छु र निकै नजिकबाट बाघ देखेको छु । तर, अहिलेसम्म पर्यटक वा नेचर गाइडमाथि ज्यानै लिनेसम्मका घटना नगन्य मात्रामा भएका छन् । जंगली जनावरहरूले दिने सङ्केत, गन्ध र जंगली जनावरले बाटोमा छोडेका पाइला, बोटविरुवामा कोतरेका नङ्ग्राका निसान आदिप्रति सचेत रहेर नै पर्यटक र नेचर गाइडहरू बाघलाई निकै नजिकबाट अवलोकन गर्न सक्छन् ।
यस वर्ष विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका छवटा नरभक्षी बाघमध्ये चार वटालाई आनीबानी सुध्रिएको भन्दै पुनः प्राकृतिक बासस्थानमा छोडिएको छ । अझै तीनवटा नरभक्षी भनिएको बाघ भने चितवन राष्ट्रिय निकुन्जकै निगरानीमा राखिएको छ । कैयौं पटक जनदबाबका कारण बाघलाई नियन्त्रणमा लिइन्छन् र पछि फेरि राष्ट्रिय निकुन्जकै क्षेत्रमा छोडिन्छन् । जंगलमा पुनः छोडिएका बाघहरूका घाँटीमा रेडियो कलर जडान गरिएको हुन्छ, जसमार्फत उनीहरूको गतिविधि निगरानी गर्न सकिन्छ ।
नेपालमा बाघको सङ्ख्या संसारमै सबैभन्दा द्रुत गतिमा बढ्दो छ । यहाँका संरक्षित क्षेत्रहरूले बाघको सङ्ख्या धान्न नसक्ने समय नजिकिँदै छ । त्यसैले बाघलाई स्थानान्तरण गर्नुको विकल्प छैन । संरक्षित क्षेत्रबाहिर पनि बाघले विचरण गर्न सक्ने कैयौं राम्रा बासस्थान छन् । यस्ता बासस्थानलाई फेरि ब्युँत्याएर र भइरहेका बासस्थानको स्तरोन्नति गरेर मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ । दिनहुँजसो देशका विभिन्न राजमार्गमा बाघ निस्कने घटना बढिरहेका बेला अझै बढी द्वन्द्व हुन नदिन महत्त्वाकाङ्क्षी योजना ल्याएर कार्यान्वयन गर्न जरुरी छ । वन्यजन्तुमुखी राजमार्ग निर्माण गरेर होस् या जंगल क्षेत्रमा मान्छेको आवतजावत रोकेर होस् या बाघको बासस्थानमा स्तरोन्नति गरेर होस्, बाघ र मान्छे आमनेसामने हुने अवस्थालाई कम गर्नुपर्छ ।
यो पृथ्वी साझा हो । यहाँ मान्छे र वन्यजन्तु दुवैले बाँच्न पाउनुपर्छ । बाघको संख्या बढ्यो भनेर नेपालले नाक फुलाउन पाउँछ, तर बाघको आक्रमणमा परेर मर्ने साधारण नागरिकका परिवारका दुःख पनि हाम्रै आँखाअगाडि छन् । जिम्मेवार निकायहरूका व्यवस्थापन र योजना यस्ता हुनुपर्छ कि मान्छे र बाघ दुवैले बाँच्न पाऊन् ।