You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

बालबालिका जसलाई राज्यले चिन्दैन

- रमन पौडेल

(काठमाडौं) - सल्यानमा आमा–बाको घर छोडेर अलि पर बजारमा बस्छिन् सविता । साथमा ४ वर्षे छोरा छन् । आमाछोराको खर्च धान्न उनी हरेक बिहान स्थानीय व्यापारीको घरमा काम गर्छिन्, दिउँसो ठेलामा फलफूल बेच्छिन् ।
एक दिन स्कुल जानुअघि छोराले सोधे, ‘ममी मेरो बाबा कहिले आउनुहुन्छ ? अरूका बाबा बाइक लिएर स्कुलमै लिन आउनुहुन्छ, मचाहिँ सधैं एक्लै आउने ?’
छोराको प्रश्नले उनी नाजवाफ बनिन् । भन्छिन्, ‘छोराले बोल्न जान्ने भएदेखि बाबा
खोइ भनेर सोध्न थालेको हो । एक दिन त
साह्रै जिद्दी गरेपछि आफ्नै भाइसँग फोनमा
बोल्न लगाउनुपर्‍यो ।’
उनलाई यो बाध्यतामा ल्याइपुर्‍याउने घटना एउटा मात्रै थिएन । शृंखलाको सुरुवात बिहेबाटै भएको थियो । सानैमा बिहे भएपछि उनी बर्दियामा श्रीमान्सँग बस्न थालेकी थिइन्, जहाँ दुई सन्तान भइसकेका थिए । छोराछोरी हुर्कंदै गर्दा खर्च बढ्दै गयो । परिवारको आम्दानी थिएन, विदेश जान श्रीमान्ले सहमति दिएनन् । त्यसैले आत्मनिर्णयले उनी काठमाडौं आइन्, जहाँ अरू पाँच/सात जना महिलासँग भेट भयो । सुरु भयो उनीहरूको कठिन र लामो यात्रा ।
एक दलालले उनीहरूलाई काठमाडौंबाट भारत, श्रीलंका हुँदै दुई महिना लगाएर कुवेत पुर्‍याए । ‘उसले कुवेतमा हामीलाई एक जना मान्छेको जिम्मा लगाइदियो,’ सन् २०१६ तिरको घटना स्मरण गर्दै सविता भन्छिन्, ‘त्यसले फेरि अर्कोलाई बोलायो, अर्को मान्छेले हामीलाई सामान छानेजस्तै गरी छानेर लैजान थाल्यो ।’
यसै क्रममा सविता एक साउदी व्यापारीको घरमा काम गर्न पुगिन् । केही महिनासम्म ठीकठाकै थियो । बिस्तारै उनी समस्यामा पर्न थालिन् । ‘मालिकको भान्जा पनि त्यहीं बस्थ्यो, ऊ मलाई बेलाबेला जिस्क्याउने गर्थ्यो । एक दिन त दिउँसो कोही नभएका बेला जबर्जस्ती गर्‍यो । पछि मालिककी दिदीले जाँच गराउन अस्पताल लिएर जाँदा थाहा भयो– पेटमा त बच्चा बसिसकेको रहेछ ।’
उनी समस्याबाट घेरिइन् जसबाट मुक्ति पाउन सजिलो थिएन । एक त भाषाको अवरोध, उनको पक्षमा बोलिदिने पनि कोही थिएन । कानुनसम्म उनको पहुँच पुगेन । उनलाई हप्कीदप्की गरियो, तीन लाख नेपाली रुपैयाँ बराबरको रकम दिएर नेपाल पठाउने बन्दोबस्त गरियो । तर त्यतिञ्जेल बच्चा जन्मिएपछि बच्चाको बाबु को हो भनेर प्रहरीले सोधखोज गरेन । बरु, सवितालाई नै जेलमा राख्यो ।
कोरोना महामारी फैलिँदा जेलमा मान्छे राख्न कुवेत सरकारलाई पनि गाह्रो भएको थियो । त्यही बेला नेपाल सरकारले खाडी मुलुकमा अलपत्र परेका नागरिकलाई स्वदेश फिर्ता गरिरहेको थियो । त्यही क्रममा सविता झन्डै २ वर्षको छोरो च्यापेर नेपाल आएकी हुन् ।
िि
िसवितासँगै अरू एक दर्जन महिला त्यस्तै सन्तान बोकेर स्वदेश फर्किएका थिए । तिनैमध्येकी हुन्– भक्तपुर बोडेकी ३३ वर्षीया शान्ति । पहिलो श्रीमान्सँग ‘डिभोर्स’ गरेपछि आमा र दाइसँग बस्दै आएकी उनी पनि धन कमाएर सानो घर बनाउने अनि आमा र दाइको उपचार गर्ने सपना बोकेर कुवेत पुगेकी थिइन् ।
उनले घरेलु कामदारका रूपमा सुरुका तीन महिना एक व्यक्तिको घरमा बिताइन् । त्यसपछि उनको भेट अर्की नेपाली महिलासँग भयो, जो राम्रै आम्दानी गरिरहेकी थिइन् । ‘चिनेकै नेपाली दिदी हो, एक दिन उहाँले आफूसँगै कोठामा बस्न बोलाउनुभयो, म पनि बाहिर कमाइ धेरै हुने भए बस्छु जस्तो लागेर काम गर्दै आएको घर छोडिदिएँ,’ शान्तिले सम्झिइन् ।

शान्तिको त्यहाँको बसाइ र श्रम गैरकानुनी भइसकेको थियो । यस्तैमा ती दिदीले एक जना कश्मीरी युवकसँग शान्तिको चिनजान गराइदिइन् । ‘दिदीले चिनेको मान्छे रहेछ, मलाई काम गर्न कार्ड मिलाइदिन्छ भनेर चिनाइदिनुभयो, सहयोग गर्ला भनेर म पनि नजिक भएँ । उसले दिदीलाई छोडेर आफूसँगै बस्न बोलायो । आखिर यता नेपालको श्रीमान्सँग डिभोर्स भइसकेको थियो । मन मिल्दै गयो भने बिहे पनि गरौंला भनेर ऊसँगै बस्न थालें । त्यही बेला पेटमा बच्चा बसेछ । थाहा पाएपछि ऊ गायब भयो । कहिल्यै सम्पर्कमै आएन ।’
कुवेत बसुन्जेल शान्ति एकपछि अर्को झमेलामा परिरहिन् । पेटमा बच्चा भएपछि नेपाली दूतावासका कर्मचारीलाई अनुरोध गरेर स्वदेश फर्कन चाहिन् तर त्यतिबेला सम्भव भएन । तर कोभिडका बेला नेपाल फर्कंदा छोरी साढे २ वर्ष पुगिसकेकी थिइन् ।
अहिले त छोरी भक्तपुरमै स्कुल जान थालिसकेकी छन् । ‘छोरीको तोते बोली र हाँसो देख्दा त रमाइलै लाग्छ, उसको मुख हेरेर चित्त बुझाउनुपर्छ पनि भन्छु तर उसलाई देखेपछि कहिलेकाहीँ त झनै पीडा हुने रहेछ,’ शान्तिले भनिन् । यहाँको नगरपालिका र प्रशासनले शान्तिकी छोरीलाई परिचय दिन मानेको छैन ।
उनलाई छोरीको पहिचानको जति चिन्ता छ, त्योभन्दा बढी मुस्किल दैनिकी चलाउन छ । विदेशबाट छोरीसहित फर्किएकी उनलाई लागेको थियो– छोरी र आमालाई पालेर बस्छु । तर उनले सोचेजस्तो भइदिएन । उनका दाइ मानसिक रूपमा अस्वस्थ छन् । बेलाबेला कुटपिटमै उत्रिन्छन् । भूकम्पका बेला घर भत्किएपछि नजिकैको स्कुलमा गएर आश्रय लिन थालेकी आमा अहिलेसम्म
घरमा फर्कन सकेकी छैनन् । बनाउन थालेको घर पूरा भएको छैन ।
िि
िकेही महिनाअघि साउदीबाट फर्किएकी अर्की महिला कोटेश्वरस्थित डेरामा बस्छिन् । साथमा एक वर्षीया छोरी छिन् । अनिच्छित यौन सम्बन्धपछि जन्मिएकी छोरीबारे उनले आफ्नै परिवार र आफन्तलाई जानकारी दिएकी छैनन् । ती महिला अहिले आफ्नो समस्याबारे खुलेर बोल्न पनि चाहन्नन् । बरु छोरीलाई कसैको जिम्मा लगाउन काठमाडौंकै एक संस्थालाई आग्रह गरिरहेकी छन् ।
महामारीका बेला सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई ल्याउने अभियान चलाएपछि पौरखी नेपालको कार्यालय आइपुगेकी थिइन्– सिन्धुपाल्चोककी एक अविवाहित गर्भवती । पौरखी नेपालकी सत्रा गुरुङका अनुसार ती युवती नेपाल आएपछि छोरी जन्माइन् । पछि आफन्त दिदीलाई छोरी जिम्मा लगाएर भारततिर लागिन् । ‘ती बहिनीको स्वास्थ्य नाजुक थियो, मानसिक रूपमा पनि विक्षिप्त भइसकेकी थिइन्,’ गुरुङले भनिन्, ‘अहिले कहाँ के गर्दै होलिन्, थाहा छैन ।’
िि
िवैदेशिक रोजगारीले देशको अर्थतन्त्र धान्ने रेमिट्यान्स मात्रै दिएको छैन, शान्ति, सविताजस्ता नेपाली महिलाको परिवार विघटन पनि गराइदिएको छ । थुप्रै बालबालिकाको भविष्य अन्धकार बनाइदिएको छ । विशेष गरी खाडी मुलुकमा हुने यौन शोषण, अनिच्छित गर्भपछि जन्मिने सन्तानलाई हुर्काउँदा महिलाले आर्थिक कष्ट र सामाजिक तिरस्कार बेहोर्नुपरेको छ, त्यसको क्षतिपूर्ति राज्यले रकममार्फत तिर्न नसके पनि सामाजिक र कानुनी न्याय दिन पहल गर्नुपर्ने बताउँछिन् अधिकारकर्मी मञ्जु गुरुङ ।
विशेष गरी विभिन्न व्यक्ति र समूहले महिलालाई गैरकानुनी रूपमा विदेश पठाउने गर्दा यस्ता समस्या थपिँदै गएको उनी बताउँछिन् । ‘रेमिट्यान्स आएको छ भनेर मात्रै हुँदैन, यसबाट सिर्जित धेरै समस्याप्रति पनि सरकार गम्भीर हुनुपर्छ,’ उनले भनिन् । अनिच्छित गर्भ वा सन्तान बोकेर फर्किने महिलाको यकिन तथ्यांक भने सरकारी निकायसँगै छैन । वैदेशिक रोजगारीमा जाने महिलामध्ये ६० प्रतिशतभन्दा बढी कुनै न कुनै हिंसामा पर्ने गरेको विभिन्न तथ्यांकले देखाएका छन् ।
िि
िविदेशमा यसरी जन्मिएका बालबालिकाबारे नेपाली समाज र राज्य अनुदार बन्दै गएका छन् । त्यस्तो नहुँदो हो त, सल्यानकी सविताले आमा–बाको घर छाडी पहिचान लुकाएर बस्नु पर्दैनथ्यो । ‘विदेशबाट फर्किएको केही महिना त म बा–आमासँगै बसें तर छोरा हुर्कंदै गर्दा गाउँलेलाई तातो लाग्न थालेछ, कुरा काट्न थाले, आमालाई पनि सोधेर हैरान पार्न थाले,’ भन्छिन्, ‘खाटा बस्न थालेको घाउमा नुनचुक छर्केजस्तै हुन थाल्यो । पछि भाइको पनि बिहे भयो । हाम्रै कारणले घर साँघुरो भयो कि जस्तो लाग्यो र बजारमा बस्न थालें । त्यहाँ त मैले कसैलाई भनेको छैन ।’
पानीपँधेरो र मेलापात जाँदा गाउँलेको विभेद उनले सहँदै आएकी थिइन्, पछि पालिका पनि थपियो । छोरालाई स्कुल भर्ना गर्ने बेला जन्मदर्ता बनाउनुपर्ने भयो । उनले जनप्रतिनिधिलाई भनिन् । उनीहरूले भनिदिए, ‘यो त तिम्रो माइती हो । तिमी आफ्नै घर जाऊ ।’
यसका लागि सविताले बर्दियामा रहेका पूर्वपतिलाई पनि आग्रह गरिन् । ‘सुरुमा त दया देखाएर हुन्छ, जन्मदर्ता बनाइदिउँला भन्नुभएको थियो, पछि समस्या आउँछ
भनेर मान्नुभएन,’ उनले भनिन् । सविताका छोरालाई
स्कुलले पठनपाठनमा राखे पनि जन्मदर्ताका लागि ताकेता गरिरहेको छ ।
‘यसरी जन्मिएका बालबालिकालाई शिक्षा र सम्मानबाट वञ्चित गर्न मिल्दैन । बालअधिकार तथा समाज कल्याण परिषद्का पूर्वनिर्देशक एवं बालअधिकारकर्मी मिलन धरेल भन्छन्, ‘प्राकृतिक नियमका आधारमा पनि संसारका
हरेक बालबालिका वैध हुन् । जस्तोसुकै अवस्थाबाट जन्मिएका भए पनि उनीहरूको जन्मदर्ता हुनुपर्छ र नागरिकता दिनुपर्छ । वास्तविक समस्या सन्तानमा भन्दा पनि कानुनमा देखिएको हो ।’
१४ वर्षअघि धरानकी माया गुरुङले यस्तै समस्या झेल्नुपरेको थियो । कतारमा कामको सिलसिलामा रहँदा भारतीय बाबुबाट जन्मिएको छोरा साथमै लिएर आइन् । छोरा हुर्कंदै गर्दा बिस्तारै पहिचानको प्रश्न पेचिलो बन्दै गयो । केही वर्षपछि मायाले नेपालमै अर्कै नेपाली पुरुषसँग बिहे गरिन् । उनी कतारबाट मायाले ल्याएको छोराको पनि बाबु बन्न तयार भएका छन् । अबको केही वर्षमै छोराको नागरिकता बनाउने तयारीमा छिन् माया । तर कुनै पुरुष यसरी समझदार नबनेमा के गर्ने ? समझदार बन्ने दायित्व राज्यको हो, तर संवेदनशीलता देखिएको छैन ।
त्यसो त संविधानको धारा ३९ (१) मा भनिएको छ, ‘प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ता गर्ने हक हुनेछ ।’ यस्तै बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि बालबालिकालाई नामकरण र जन्मदर्ताको हक प्रदान गरेको छ । तर, जबर्जस्ती करणी वा हाडनाता करणीबाट जन्मिएका बालबालिकाको हकमा आमाको आग्रहका आधारमा आमाकै नाममा नागरिकता दिनुपर्ने व्यवस्था छ । बाबु बेपत्ता भएमा बालबालिकाको नामको पछाडि आमाको थर र आमा–बाबु दुवै बेपत्ता भएमा संरक्षकको थर प्रयोग गर्न पाउने भनिएको छ ।
यसबाहेक संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि १९८९ अनुसार हरेक बालबालिकाको जन्मदर्ता गरिनुपर्ने व्यवस्था छ । साथै उनीहरूले जन्मेपछि
आफ्नो राष्ट्रियताको अधिकार तथा सम्भव भएसम्म आफ्ना आमा–बाबुबारे थाहा पाउने व्यवस्था छ र आमाबाबुबाट पाउने स्याहार पनि उनीहरूलाई दिनुपर्ने व्यवस्था उक्त महासन्धिमा छ ।
नेपाल सरकार २०४७ भदौमा उक्त महासन्धिलाई अनुमोदन गर्दै पक्षराष्ट्र बनेको हो ।
महासन्धिले बालबालिका पहिचानसम्बन्धी वा कुनै अधिकारबाट वञ्चित हुनुपरेमा पक्षराष्ट्रहरूले तत्काल पुनःस्थापना तथा संरक्षण गर्नुपर्ने उल्लेख छ । बाबुको पहिचान नखुलेका बालबालिकाले जन्मदर्ता र नागरिकता लिने क्रममा ‘बाबु बेपत्ता’ भएको वा ‘थरठेगान नभएको’ जनाउनुपर्ने उल्लेख छ ।
यसअघि संसद्मा पुगेको र पछि अध्यादेशका लागि फिर्ता भएको नागरिकतासम्बन्धी विधेयकले पनि बालबालिकाको जन्मदर्ता सम्बन्धमा आमालाई केही अधिकार दिएको छ तर बाबुहरूको हकमा महिलालाई विभिन्न सर्त तेर्स्याउँदै निरुत्साहन गर्न खोजिएको छ । बाबुको पहिचान नभएमा वा आमाले परिचय दिन नसक्ने भएमा त्यसका लागि स्वघोषणा गर्नुपर्ने सर्त राखिएको छ । ‘कुनै आमा बेपत्ता भएमा बाबुको नाममा सहजै जन्मदर्ता र नागरिकता दिइन्छ तर त्यही व्यवस्था आमाको हकमा लागू गरिएको छैन,’ सरकारले तोकेका सर्त अपमानजनक भएको ठान्छिन् अधिकारकर्मी गुरुङ । यस्ता समस्यामा परेका महिलाले स्थानीय सरकारबाट सिफारिस ल्याउँदादेखि नै झमेला बेहोर्नुपर्ने उनी बताउँछिन् ।
बालअधिकार परिषद्को तथ्यांकअनुसार पछिल्ला ५ वर्षमा यस्ता समस्या लिएर जन्मदर्ताका लागि ३१५ निवेदन परेका छन् । तीमध्ये १५ जनाका आमाको र ११ जनाको बाबुको पहिचान खुलेको छैन । ३३ जनाको बाबु र आमा दुवैको पहिचान खुलेको छैन । परिषद्मा उनीहरूका निवेदन थन्किएको महिनौं भइसकेको छ ।
भक्तपुरकी शान्तिको निवेदन पनि बाल कल्याण कार्यालयमा थन्किएको झन्डै एक वर्ष हुन लाग्यो तर छोरीको जन्मदर्ता भएको छैन । ‘नगरपालिकाका सचिवज्यूले बाबाको नाम नदिएसम्म म सिफारिस लेख्दिनँ भनेर मान्नुभएन, सरकारी अफिसको म्याम (पञ्जीकरण कार्यालय) ले सिफारिस ल्याउनु भन्नुभएको छ, बाबुको नाम–ठेगाना म कसरी कहाँबाट ल्याऊँ, उसका बारेमा मलाई केही थाहा छैन,’ शान्तिले सुनाइन् ।
बालबालिका तथा समाज कल्याण परिषद्की कार्यक्रम निर्देशक नमुना भुसाल पनि यस्ता महिलाका सन्तानको सवालमा समस्या देखिएको बताउँछिन् । भन्छिन्, ‘महिला यस्तो अवस्थामा पुग्दा पक्कै समस्या आउँछ, व्यावहारिक रूपमा जटिल पनि छ । अहिले जन्मदर्ताभन्दा पनि नागरिकता लिने क्रममा झन् जटिलता देखिन सक्छ ।’
यो विषय र पात्रबारे पौडेलको रिपोर्टिङ यसअघि
‘अनबायस द न्यूज’ मा प्रकाशित छ ।

मुख्य पृष्ठ

समानुपातिकमा कांग्रेसका २२ र एमालेका २९ नयाँ

- मणि दाहाल

(काठमाडौं) - प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचितमध्ये एमालेका २९ र कांग्रेसका २२ सांसद नयाँ छन् ।
एमालेका ३४ सांसदमध्ये रघुजी पन्त, एकनाथ ढकाल, हेमराज राई, गंगाप्रसाद यादव र अमृता अग्रहरीबाहेक सबै नयाँ हुन् । कांग्रेसका ३२ मध्ये आरजु राणा, विमलेन्द्र निधि, प्रकाशशरण महत, जीवन परियार, अम्बिका बस्नेत, सरिता प्रसाईं, ईश्वरी न्यौपाने, चन्दा चौधरी, मुक्ताकुमारी यादव र सरस्वती बजिमय पटक–पटक अवसर पाइसकेका सांसद हुन् ।
एमाले स्थायी कमिटी सदस्य रहेका पन्त २०५१ र २०५६ मा ललितपुरबाट निर्वाचित भएका थिए । परिवार दलका अध्यक्ष रहेका ढकाल पहिलो र दोस्रो संविधानसभामा सदस्य थिए । त्यसैगरी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका राई तेस्रो पटक सांसद बन्न लागेका हुन् । २०६९ मा उनी अशोक राईसँगै एमालेबाट बाहिरिएका थिए । उनी २०४८ र २०५१ मा भोजपुर–१ बाट दुई पटक सांसद निर्वाचित भएका थिए । यादव प्रतिनिधिसभाका पूर्वउपसभामुख हुन् । उनी २०७४ मा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् ।
२०७४ मा प्रतिनिधिसभामा जसपाबाट समानुपातिक सांसद बनेकी अग्रहरी निर्वाचनअघि एमाले प्रवेश गरेकी थिइन् । लामो समय क्षेत्रीय दल सद्भावना पार्टीसँग सम्बद्ध रहेकी उनी अहिले एमालेबाट समानुपातिक सांसद बनेकी हुन् ।
एमालेले समानुपातिकतर्फ २२ महिलालाई सांसद बनाएको छ, जुन एक तिहाइ हो । खासआर्य महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल निर्वाचित भएका छन् । आदिवासी जनजातितर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा, दलिततर्फ रुक्मिणी राना बराइली र हर्कमाया विश्वकर्मा, मधेसीतर्फ बिनादेवी, अमृता अग्रहरी र प्रतीक्षा तिवारी, थारूतर्फ आस्माकुमारी चौधरी र शान्ति चौधरी सांसद बनेका छन् ।
त्यसैगरी पुरुषतर्फ खसआर्यमा पन्त, ढकाल र दयालबहादुर शाही, जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई, दलिततर्फ ईश्वरबहादुर रिजाल विक, प्रभु हजारा दुसाध र चन्द्र विक, मधेसीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र मुस्लिमतर्फ सराज अहमद फारुकी सांसद भएका छन् । प्रतिनिधिसभामा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।
संसद्को पहिलो दल बनेको कांग्रेसबाट ८९ सांसद निर्वाचित भएका छन्, जसमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ जना छन् । समानुपातिकका २२ र प्रत्यक्षका १६ नयाँ अनुहार छन् ।
कांग्रेसबाट पूर्वउपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधि, पूर्वमन्त्री एवं पार्टी प्रवक्ता प्रकाशशरण महत र सहमहामन्त्री जीवन परियार समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका छन् । धनुषाबाट पटक–पटक चुनाव जितेर पार्टीमा पटक–पटक पदाधिकारीसमेत भइसकेका निधि चुनाव हार्ने डरले यस पटक समानुपातिकमा बसे ।
सभापति शेरबहादुर देउवाकी पत्नी एवम् पार्टी केन्द्रीय सदस्य आरजु राणा र प्रवक्ता महत समानुपातिकबाट तेस्रो पटक सांसद बनेका छन् । दुवै अहिलेसम्म प्रत्यक्ष चुनाव जितेर संसद् छिर्न सकेका छैनन् ।

२०६४ र २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका महत र राणा पार्टी सत्ताको दुरुपयोग गर्दै तेस्रो पटक समानुपातिकमा सांसद बनेका हुन् ।
हाल पार्टीको सहमहामन्त्री रहेका जीवन परियारलाई भने समानुपातिकमा निर्वाचित हुन हम्मे परेको थियो । दलित समुदायबाट पहिलो सहमहामन्त्री र हाल एकमात्रै पदाधिकारी रहेका परियारले प्रत्यक्षमा टिकट पाएनन् । समानुपातिकमा
तीन जनामात्रै पुरुष निर्वाचित हुने अवस्था बन्दा नेता शेखर कोइराला समूहमा रहेका परियारलाई पार्टीबाट निर्वाचित हुन निकै कठिन पर्‍यो ।
कांग्रेसले प्रत्यक्षमा ९१ सिटमा उम्मेदवारी दिँदा दलित समुदायका परेका थिएनन् । चौतर्फी दबाबपछि सभापति देउवाले परियारलाई समानुपातिकबाट निर्वाचित गराएका हुन् । परियार २०७० मा पनि समानुपातिकबाटै संविधानसभा सदस्य बनेका थिए । २०७४ मा भने उनी कास्कीबाट प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए ।
यसबाहेक कांग्रेसले पटक–पटक अवसर पाइसकेका अम्बिका बस्नेत, सरिता प्रसाईं, इश्वरी न्यौपाने, चन्दा चौधरी र मुक्ताकुमारी यादवलाई समानुपातिकबाट प्रतिनिधिसभामा पठाएको छ । समानुपातिकमा निर्वाचितमध्ये सरस्वती बजिमय पनि पहिल्यै समानुपातिक सांसद भइसकेका हुन् ।
लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल कार्की, कल्पना चौधरी, बिनाकुमार थनेत, शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, नगिना यादव, संगीता मण्डल र जावेदा खातुन भने नयाँ अनुहार हुन् ।
यीमध्ये चन्दा चौधरी नवप्रवेशी हुन् । चुनावको मुखमै लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर कांग्रेसमा आएकी उनी ०७४ मा पनि समानुपातिकबाटै सांसद बनेकी थिइन् । ओली सरकारमा महिलामन्त्री समेत भएकी थिइन् । लीलादेवी बोखिम, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल कार्की, बिनाकुमारी थनेत, संगीता मण्डल धानुक, मनोरमा शेरचन, आशा विक र सीता मिजार पार्टीको केन्द्रीय सदस्य नबन्दै प्रतिनिधिसभा सदस्य बनेका छन् । बाँकी नेता भने केन्द्रीय समितिमा पनि छन् ।
मञ्जु गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी हुन् भने राजभण्डारी पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी हुन् । ताप्लेजुङकी बोखिम यसअघि प्रत्यक्षमा चुनाव लडेर पराजित भएकी थिइन् । जुम्लाकी सेजुवाल यसअघि चन्दननाथ नगरपालिकाको मेयर थिइन् । शिक्षण छाडेर राजनीतिमा आएकी उनी पार्टीको केन्द्रीय सदस्य हुन् । अघिल्लोपटक आमन्त्रित केन्द्रीय सदस्य रहेकी रमा कोइराला पौड्यालले पनि यस पटक अवसर पाएकी छन् । भोजपुरकी उनी १४ औं महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्य बनेकी हुन् ।
सीताकुमारी राना, सुशीला थिङ र माया राई जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेका हुन् । उनीहरूको महिला संघ र नेविसंघ पृष्ठभूमिका हुन् । शान्ति र रूपा पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् भने सीता केन्द्रीय सदस्यको उम्मेदवार थिइन् । आशाले प्रत्यक्षतर्फ बाँके–३ मा चुनाव लड्ने चाहना
देखाएकी थिइन् । त्यहाँ सहमहामन्त्री किशोरसिंह राठोरले
जित्दा आशाले समानुपातिकबाट मौका पाएकी छन् । मुस्लिम समुदायबाट पहिलो पटक कांग्रेसको केन्द्रीय सदस्य बनेकी जावेदा खातुन पनि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् । थारू समुदायबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद बनेका छन् ।
२०७४ मा काठमाडौं–३ मा पराजित अम्बिका बस्नेत तेस्रो पटक समानुपातिकबाट सांसद भएकी हुन् । उनी दुवै संविधानसभामा सदस्य थिइन् । महिला संघको अध्यक्षसमेत भइसकेकी उनी १२ औं महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्य छिन् । उनी गरिबी निवारण तथा सहकारीमन्त्रीसमेत भइन् । राष्ट्रिय सभाकी पूर्वसदस्य सरिता प्रसाईं त्यसबेला प्रमुख सचेतक थिइन् । उनी ०७० मा समानुपातिकबाटै संविधानसभा सदस्य बनेकी थिइन् । उनी कृषि राज्यमन्त्रीसमेत भइसकेकी नेता हुन् । ०७४ मा कैलाली–१ मा चुनाव हारेकी ईश्वरी न्यौपाने पटक–पटक केन्द्रीय सदस्य भइसकेकी र पार्टीको महिला विभागको प्रमुख भएर काम गरिसकेकी छन् ।
राष्ट्रिय सभाकी पूर्वसदस्य मुक्ताकुमारी यादव पनि संविधानसभामा समानुपातिकबाटै अवसर लिइसकेकी नेता हुन् । शिक्षण छोडेर राजनीतिमा आएकी उनले १४ औं महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्य जितेकी थिइन् ।

मुख्य पृष्ठ

दाजुभाइले उठाए परिवारका ८ शव

- ज्योति श्रेष्ठ

(काभ्रे) - बनेपा–११ सल्लेका अमर–जयराम तामाङ दाजुभाइ वैदेशिक रोजगारमा गएको ६ महिना पनि भएको थिएन । बेरोजगारीले सताएपछि २३ वर्षीय अमर असारमा जापान र दाजु जयराम असोजमा मलेसिया उडेका थिए । चार दाजुभाइमध्ये अमर कान्छो र जयराम साइँलो हुन् । केही वर्ष विदेशमै पसिना चुहाएर घर फर्किने योजनामा उनीहरू ढुक्क बन्दै थिए । तर, मंगलबारको घटनाले छोटो समयमै स्वदेश फर्किनुपरेको छ ।
उनीहरूको परिवार बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टीमा भान्जाको छेवर (व्रतबन्ध) मा सहभागी हुन गएका थिए । शुभकार्य सकेर फर्कंदै गर्दा उनीहरू चढेको बा३ख ४३८५ नम्बरको बस बेथानचोक–४ चलाल गणेशस्थानमा दुर्घटनामा पर्‍यो । १७ जनाले ज्यान गुमाएकामा तामाङ परिवारभित्रकै आठ सदस्य परेका थिए ।
दुर्घटनामा उनीहरूले ७९ वर्षीया हजुरआमा निर्मलामाया तामाङ, ५५ वर्षीय बुबा कुमार, २८ वर्षीया जेठी भाउजू मञ्जु, ११ वर्षीय भतिज पुष्कर, ३० वर्षीय माइलो दाइ बुद्ध, २७ वर्षीय माइली भाउजू कोपिला, ५० वर्षीय काका आकुर र ४३ वर्षीया काकी हेमालाई गुमाए । गम्भीर घाइते भएका जेठा दाइ राजनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ६ वर्षीया भतिजी श्रेया घाइते छिन्, उनले दुर्घटनामा आमाबुबा दुवैलाई गुमाइन् ।
शव जिम्मा लिने व्यक्ति नहुँदा चार दिनदेखि आठ वटै शव धुलिखेल अस्पतालमा राखिएको थियो ।

बिहीबार राति मात्रै दाजुभाइ फर्किएपछि शुक्रबार दिउँसो अस्पतालले जिम्मा लगाएको थियो । शव गृहबाट एकै परिवारको आठ वटा शव निस्किँदा दाजुभाइ सम्हालिन सकेनन् भने सँगै गएका आफन्त र गाउँले पनि भावविह्वल बने । बुद्ध धर्म मान्ने भएकाले मृतक सबैको अन्त्येष्टिका लागि काठमाडौंको स्वयम्भू लगिएको बनेपा नगरपालिका–११ का वडाध्यक्ष शिवकुमार थापाले बताए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका अरू ९ जनाको बुधबार नै अन्त्येष्टि गरिएको थियो ।
दुर्घटनामा २२ जना घाइते भएकामा ३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । धुलिखेल अस्पतालमा पनौती कुशादेवीका ३८ वर्षीय कालु तामाङ, ३३ वर्षीया निरुमाया तामाङ, ३९ वर्षीय पेमा तामाङ, ३२ वर्षीय राजन तामाङ, २२ वर्षीय रेशम तामाङ, १९ वर्षीय विशाल तामाङ र ३७ वर्षीय रवि तामाङ उपचाररत छन् । ३२ वर्षीय विकास तामाङ, ४१ वर्षीया कविता तामाङ, सहचालक २८ वर्षीय सन्तोष चौलागाईं, २९ वर्षीय देवराज तामाङ र ३३ वर्षीय विजय वाइबाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
बनेपाका २७ वर्षीय हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर थिमि अस्पताल, मकवानपुर कुलेखानीकी २६ वर्षीया डोल्मा तामाङको काठमाडौंको वीर अस्पताल ट्रमा सेन्टर, ३ वर्षीय सुशान्त तामाङ, बनेपा–११ का ५ वर्षीय रेन्जेन तामाङ र १९ वर्षीय निर्मला तामाङको अन्नपूर्ण न्युरो अस्पताल, बेथानचोक–५ का १३ वर्षीय योगेश तामाङको बालमैत्री अस्पताल, बनेपाका २० वर्षीय रूपक तामाङको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार पीडित, यातायात व्यवसायी र स्थानीय जनप्रतिनिधिबीच भएको छलफलमा घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन यातायात व्यवसायी सहमत भएका छन् ।

 

Page 2
समाचार

धान किसानको धन बिचौलियाको

- कान्तिपुर संवाददाता

मर्थन मूल्य तोकेको डेढ महिना बित्दा पनि सरकारले किसानको धान किनेको छैन । जसको सोझो मारमा किसान परेका छन् । त्यसको फाइदा भने बिचौलियाले उठाइरहेका छन् । सरकारी लाचारीपनका कारण किसान बिचौलियामार्फत सरकारी मूल्यभन्दा प्रतिक्विन्टल ६ सय रुपैयाँ कममा धान बेच्न विवश छन् ।
किसानको दबाबमा गत कात्तिक १६ मा सरकारले चालु आर्थिक वर्षका लागि मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो । मन्त्रिपरिषद्ले मूल्य तोके पनि धान किन्ने सरकारी संयन्त्र नबनाइदिँदा बिचौलियाको रजगज बढेको छ । उनीहरूले मोटो धान २ हजार ३ सय र मध्यम धान २ हजार ६ सयका दरले किसानसँग किनिरहेका छन् ।
पुस लागिसक्दा पनि सरकारी बेवास्ता भएपछि नजिकका व्यापारीलाई धान बेच्न थालेको सर्लाहीको कविलासी नगरपालिका–१ पिपरियाका किसान सुरेन्द्र रायले गुनासो गरे । ‘सरकारले मूल्य तोकेको सुनेको छु । तर, त्यो दरमा कहाँ बेच्ने हो, केही जानकारी छैन,’ उनले भने, ‘सरकारी दरमा धान बिक्री नभएपछि व्यापारीलाई बुझाउन थालेको छु ।’ धानको भण्डारण गर्ने स्थान नहुँदा किसान सक्दो चाँडो बेच्नुपर्ने बाध्यतामा रहेको उनले सुनाए ।
कैयौं किसान धान बेचेर हुने आम्दानीले गहुँ लगाउनुपर्ने र घरायसी खर्च धान्नुपर्ने परिस्थितिमा छन् । धान बेचेपछि खेतमा अर्को बाली लगाउन गहुँ तथा दलहन बालीको बीउ तथा मल खरिद गर्न सहज हुने पिपरियाका किसान रविन्द्र रायले बताए । सरकारले मूल्य तोके पनि खरिद नगरिदिँदा किसान मर्कामा परेको उनको गुनासो छ । ‘सरकारी मूल्यको बाटो पर्खियो भने कहिले बिक्री हुन्छ, थाहा हुँदैन, आफ्नो यहाँ घर व्यवहार धान्नै मुस्किल छ,’ रायले भने, ‘हामी त बर्सेनि ठगिन बाध्य भएका हौं, मूल्य त तोकियो तर काहाँ बिक्री गर्ने, थाहा छैन, सरकार मूकदर्शक भएर बसेको छ ।’
वर्षौंदेखि हरेक सिजनमा मल, बीउ खरिदमै समस्या भोग्दै आएका किसान अघिल्ला वर्षहरू जस्तै यसपाला पनि आफ्ना उत्पादन बेच्न संघर्षरत छन् । गतवर्षको तुलनामा यस वर्ष धान उत्पादन बढे पनि किसानको धान किन्ने सरकारी निकाय वा स्थान जिल्लामा नरहेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । जिल्लाभित्र सरकारी मूल्यअनुसार धान खरिद बिक्री हुन नसकिरहेको कार्यालयका निमित्त प्रमुख गणेशप्रसाद सिंहले बताए । व्यापारी तथा बिचौलियामार्फत नै धान खरिद भइरहेको उनको भनाइ छ । ‘सरकारले कहाँ कसलाई खरिदको जिम्मा लगाएको छ, हामीलाई थाहा छैन । हामीलाई नै थाहा नभएपछि किसानलाई थाहा हुने कुरै भएन,’ उनले भने ।
सर्लाही पिपरियाका किसान सुरेन्द्र रायकै जस्तो चिन्ता छ, रूपन्देहीको कोटहीमाई–३ का किसान आलोक यादवको पनि । यसपटक धान बेचेर राम्रो आम्दानी गर्ने सोच बनाएका उनी त्यति बेला निराश भए, जति बेला सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न नसकिने निष्कर्षमा पुगे । उनले गुनासो गरे, ‘कसैले पनि धानको उचित मूल्य दिएनन् ।’ बाँकेको जानकी गाउँपालिका–२ रम्भापुरका सरोज बर्माले स्थानीय व्यापारीलाई राधा–४ धान प्रतिक्विन्टल २ हजार ४ सय रुपैयाँमा बेचे । अघिल्लो वर्षको तुलनामा धानको मूल्य बढे पनि त्यसको प्रतिफल उनले पाएनन्, ठगिए । ‘पानीका लागि बोरिङ अनि खनजोत गर्दा लागेको खर्च पनि उठेन,’ उनले भने, ‘पानी नपरेर प्रकृतिले ठग्यो । अहिले उचित मूल्य नदिएर व्यापारीले ठग्दै छन् ।’
नेपालगन्ज उपमहानगरपालिका–१२ का ५५ वर्षीय किसान सुन्दर जरवटले सोमबार तीन क्विन्टल मोटा धान नेपालगन्जका एक व्यापारीलाई बेचे । २ हजार ४ सय रुपैयाँ मात्र धानको मूल्य पाए । सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । सुन्दरले यसरी सरकारले तोकेको मूल्यभन्दा कममा धान बेच्नु उनको बाध्यता हो । खाद्यले धान खरिद गर्दा अनेक झन्झट व्यहोर्नुपरेको जानकी गाउँपालिकाको नेवाजी गाउँका छोटु बर्माको अनुभव छ । ‘मैले पोहोर साल धान लगेर गएँ । तर तीन दिन कुर्नुपर्‍यो । कुपन लिएर बस्दा पनि तीन दिन कुर्नुपरेपछि दिक्क लाग्यो,’ उनले भने, ‘यस वर्ष कस्तो हुन्छ, थाहा छैन ।’ गत वर्ष धान बेच्ने कुपनका लागि लाइनमा बस्दा किसानले कृषि ज्ञान केन्द्रमा तोडफोड नै गर्ने अवस्था सिर्जना भएको थियो । बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । धान उत्पादनका आधारमा कम कोटा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछाने बताए । ‘अहिले धान राम्रो उत्पादन भएको छ । उत्पादनअनुसार कोटा कम आएको छ,’ उनले भने, ‘पुस ५ बाट धान खरिद सुरु गर्छौं ।’
कपिलवस्तु नगरपालिका–१२ सौराहाका हरिराम कुर्मीले १९ क्विन्टल मोटो धान २५ रुपैयाँ किलोका दरमा बचे । त्यो पनि ३ महिनापछि चैतमा पैसा पाउने गरी । उनको मसिनो साझा मन्सुली २५ क्विन्टल धान पनि स्याहारेर बेच्न ठिक्क पारेका छन् । तर भाउ नपाउँदा अलमलमा छन् । जति गरे पनि ३३ रुपैयाँ किलो बढी दिन व्यवसायी मान्दैनन् । सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य २९ रुपैयाँ ६७ पैसा तोकेको छ । तर व्यवसायीले सरकारले तोकेभन्दा ४ रुपैयाँ ६७ पैसा कम मूल्यमा धान खरिद गरिरहेका छन् । जिल्लामा गत वर्षभन्दा यस वर्ष धानको उत्पादन ४ प्रतिशत बढेको छ । जिल्लामा यस वर्ष ७० हजार ७० हेक्टरमा धान खेती गरिएकामा २ लाख ६९ हजार ६ सय ६९ टन धान उत्पादन भएको छ । गत वर्ष ७१ हजार ५ सय हेक्टरमा खेती गरिएकामा २ लाख ११ हजार टन मात्र उत्पादन भएको थियो ।
गत वर्षभन्दा किलोमा एक दुई रुपैयाँ भाउ बढे पनि खासै मूल्य नपाउँदा धान खेतीप्रति आकर्षण घट्दै गएको मायादेवी गाउँपालिका खैराटीमा रामसुभग यादवले बताए । ‘४५ क्विन्टल साभा मन्सुली धान बेच्न ठीक पारेको छु,’ उनले भने, ‘तर राम्रो भाउ नपाउँदा तनावमा छु ।’ किसानबाट ३३ रुपैयाँमा किनिएको धानको चामल व्यापारीहरूले ४९/५० मा बेच्ने गरेको र किसानको पसिनामा अरुले नै फाइदा लिइरहेको उनको भनाइ छ ।
सरकारले समयमा धान खरिद गर्न नसकेकै कारण आफूले सस्तो मूल्यमा धान बेच्न बाध्य भएको बर्दिया राजापुर नगरपालिका–३ का किसान नाचुराम थारुले बताए । स्थानीय व्यापारीलाई धान बेच्दा आफूहरू मर्कामा परेको उनको भनाइ छ । ‘सरकारको लापरबाहीले धान खरिद प्रक्रिया ढिलासुस्ती हुँदा किसानले घर खर्च टार्न सस्तो मूल्यमा धान बेच्नुपरेको छ,’ उनले भने ।
सर्लाही, कपिलवस्तु, बाँके र बर्दियाको जस्तै समस्या पर्सामा पनि छन् । खेतबाट धानी उठिसक्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगन्ज शाखाले कहिलेदेखि धान खरिद सुरु गर्ने टुंगो लगाएको छैन । केन्द्रबाट यस बर्षको धान खरिद कोटासम्बन्धी पत्र बिहीबार मात्र प्राप्त भएको शाखा प्रमुख विकास कटुवालले बताए ।
यस बर्ष सोना मन्सुली धान १० हजार क्विन्टल र जिरा मसिनो धान २ हजार क्विन्टल खरिदको कोटा पाइएको उनले जनाए । ‘हाललाई १२ हजार क्विन्टल धान खरिदको कोटा आएको छ,’ उनले भने, ‘पछि धानको परिमाण थपघट पनि हुन सक्छ ।’ संघीय सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । जिरा मसिनो धानको मूल्य भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जिल्लाबाहिर रहेकाले उनी आएपछि मात्र समितिको बैठक बसेर जिरा मसिनो धानको खरिद मूल्य तय गरिनेछ । ‘समितिमा वीरगन्ज उद्योग वाणिज्य संघ तथा किसान संघका प्रतिनिधिसमेत सदस्य हुन्छन्,’ उनले भने, ‘सबै तयारी गरी यस वर्ष पुस १० बाट धान खरिद हुने सम्भावना छ ।’ गत वर्ष पनि पुस १० बाटै धान खरिद सुरु गरिएको उनले जनाए । शाखाले गत वर्ष १७ हजार क्विन्टल सोना मन्सुली धान किनेको थियो ।

ठाउँ–ठाउँमा आन्दोलन र विरोध
सरकारले तोकेको सर्मथन मूल्यमा धान बेच्ने वातावरण नबन्दा देशका विभिन्न जिल्लामा किसान सम्बद्ध संघसंगठन आन्दोलनमा उत्रिएका छन् । पर्साको किसान महासंघ जिल्ला समितिले भने धान खरिदको दबाबस्वरुप यसै साता वीरगन्जमा जुलुस, कम्पनी शाखा परिसरमा धर्ना तथा तालाबन्दीलगायत प्रदर्शन गरिसकेको छ । समयमै धान खरिद सुरु हुन नसक्दा किसान सस्तो मूल्यमा घरघरै पुग्ने व्यापारीहरूको भर पर्न बाध्य छन् ।
सर्लाही र पर्साकै जस्तो अवस्था प्रदेश १ मा पनि छ । सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद सुरु हुन नसक्दा किसान मर्कामा पर्न छन् । बुधबार मात्रै काग्रेसको भ्रातृ संगठन किसान संघ र एमालेको भ्रातृ संगठन अखिल नेपाल किसान संघमा आबद्ध किसानले पत्रकार सम्मेलन नै गरेर समर्थन मूल्यमा तत्काल धान खरिद प्रक्रिया नबढाइए आन्दोलनमा उत्रिने बताए । दुवै संगठनले सर्मथन मूल्य कार्यन्वयनको माग गर्दै विराटनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।
सरकारले धानको समर्थन मूल्य तोके पनि किसानको धान किन्नमा आलटाल गरेपछि कांग्रेस निकट नेपाल किसान महासंघ र नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिको संयोजकत्वमा रूपन्देहीमा आन्दोलनका कार्यक्रम थप चर्काउने निर्णयसमेत गरेको छ । गत बुधबार बुटवलमा भएको संयुक्त भेलाबाट जिल्ला प्रशासन कार्यालयमा धर्नासहितको कार्यक्रम तय भएको थियो । किसानले बिहीबार धर्ना दिई किसानको समस्या समाधानका लागि सरकार उदासीन भएकाले आन्दोलन गर्नुपरेको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी संयोजक एवं पूर्वकृषिमन्त्री आरती पौडेलले बताइन् । पहिलो चरणमा मंसिर २९ मा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर पहिले प्रदान गरिएको ज्ञापन पत्रको विषयमा थप ध्यानाकर्षण गराइएको हो ।
गत मंसिर २५ मा धानको समर्थन मूल्य अनुसार धान खरिद गर्न दबाबस्वरूप प्रदेशको खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीमा तालाबन्दी गरिएकामा किसानको मागलाई कुल्चिँदै कम्पनीले ताला तोडेकामा खेद व्यक्त गरिएको उनले बताइन् । सरकारले प्रतिकिसान उत्पादितभन्दा धेरै कम मात्र धान किन्ने निर्णय गरेकामा पौडेलले आपत्ति जनाइन् । कुनै किसानले १ हजार टन धान उत्पादन गर्छ भने सरकारले २५ क्विन्टल मात्र किनिदिनुले किसानलाई सघाएको नबुझिने उनको तर्क छ । कृषक महासंघ लुम्बिनीका अध्यक्ष सर्वजित विष्ट पनि सरकारले समय नाघेपछि तोकेको मूल्य अर्थहीन रहेको बताउँछन् ।
बर्दियाको खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरले ढिलो गरी धान खरिद प्रक्रिया सुरु गरेको छ । खाद्य तथा व्यापार केन्द्रमा एक सातामा ६ हजार क्विन्टल धान खरिद भएको छ । खाद्यले केन्द्रबाट बजेट निकासा भएपछि गत मंसिर २२ देखि धान खरिद सुरु गरेको हो । सार्वजनिक बिदाबाहेक अन्य दिन धान खरिद गर्ने खाद्य केन्द्रले जनाएको छ । एक महिनाअघि सरकारले धानको मूल्य निर्धारण गरेपछि धान खरिद प्रक्रिया अघि बढे पनि खरिद प्रक्रिया ढिलो सुरु गर्दा कम धान खरिद भएको हो । २० हजार क्विन्टल मोटो र २० हजार क्विन्टल मकवानपुर धान खरिद गर्ने लक्ष्य रहेको खाद्य तथा व्यापार केन्द्रका प्रमुख धर्मराज पन्तले बताए । खाद्य केन्द्रले यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने भने पनि लक्ष्य पूरा हुनेमा आशंका छ । बजेट ढिलो निकासा भएकाले खरिद प्रक्रिया लम्बिएको खाद्य तथा व्यापार केन्द्रका प्रमुख पन्तको भनाइ छ ।

 ओमप्रकाश ठाकुर (सर्लाही), सन्जु पौडेल (लुम्बिनी), मनोज पौडेल (कपिलवस्तु), रूपा गहतराज (नेपालगन्ज), कमल पन्थी (बर्दिया), शंकर आचार्य (पर्सा), मोहन बुडाऐर (धनगढी), भवानी भट्ट (कञ्चनपुर)

 

समाचार

खाद्य जहिल्यै ढिला

- कान्तिपुर संवाददाता

 
कैलालीको थापापुरको शंकर चौधरीले प्रतिक्विन्टल २७ सयका दरले १० क्विन्टल धान व्यापारीलाई बेचे । उनले धान बेचेको २७ दिनपछि खाद्य व्यवस्था कम्पनीले टीकापुरको सत्ती डिपोमा २९ सय ६७ प्रति क्विन्टलका दरले धान किन्न थाल्यो । डिपोले समयमै धान खरिद गरिदिएको भए उनले धानको मूल्य २ हजार रुपैयाँ बढी पाउने थिए । ‘कात्तिकमै धान काटिसकेको थिएँ, मंसिर १०/१५ सम्म सरकारको खाद्य कम्पनीले खोल्ने काँटा पर्खेर बसेका थियौं,’ उनले भने, ‘खाद्य कम्पनीले कहिले धान खरिदका लागि काँटा खोल्छ, निश्चित नभएपछि धान व्यापारीलाई बिक्री गर्न थाल्यौं ।’
खाद्य कम्पनीका कर्मचारी र व्यापारीको साँठगाँठमा किसानले धानको उचित मूल्य पाउन नसकेको कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद गंगाराम चौधरीले बताए । ‘पछिल्लो समय खाद्य कम्पनी र व्यापारीबीच साँठगाँठ जस्तो देखिन्छ,’ सांसद चौधरीले भने, ‘खाद्य कम्पनीले किसानले धान बिक्री गरिसकेपछि गाउँमा धान खरिद गर्ने डिपो खोल्छ । यो एक प्रकारले मिलोमतो जस्तो देखिन्छ ।’ यस वर्ष कम्पनीले ४० हजार क्विन्टल धान कैलालीका किसानबाट खरिद गर्ने लक्ष्य लिएको खाद्य कम्पनीका प्रदेश कार्यालय प्रमुख इन्जिला बस्नेतले जनाए ।
कञ्चनपुरमा पनि सरकारले धानको मूल्य तोकेको डेढ महिनापछि खरिद सुरु गरेको छ । किसानले गत वर्षभन्दा सस्तोमा धान बिक्री गरिसकेपछि कञ्चनपुरमा खाद्य व्यापार तथा कम्पनी लिमिटेडले शुक्रबारदेखि धान खरिद थालेको हो । खाद्यले समयमा धान खरिद नगर्दा किसानले गत वर्षभन्दा सस्तोमा धान बिक्री गरेका हुन् । उनीहरूले प्रतिक्विन्टल २१/२२ सयमा बिक्री गरेका हुन् । जब कि सरकारले मोटो धानको २९ सय ६७ र मसिनो धानको ३१ सय २८ रुपैयाँ निर्धारण गरेको छ ।
‘मूल्य तोके पनि के गर्नु धान त खरिद गरेन, हामीले सस्तोमै बिक्री गर्नुपर्‍यो,’ कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का शिवराज रानाले भने, ‘गहुँका लागि जोताइ, मल बीउ किन्न समेत हामीले बिक्री नगरी भएन ।’ उनले यो वर्षभन्दा गत वर्ष धानको मूल्य राम्रो पाएका थिए । खाद्यले यस वर्ष १० हजार क्विन्टल धान खरिदका लागि केन्द्रमा अनुमति मागेको थियो । यसै साता १४ हजार क्विन्टल धान खरिदको अनुमति आएको छ । बिहीबार स्थानीय खरिद समितिको निर्णयपछि शुक्रबारदेखि खरिद सुरु भएको खाद्य व्यापार तथा कम्पनी लिमिटेड महेन्द्रनगरका प्रमुख तपेन्द्र उपाध्यायले जनाए ।
खाद्यले गत वर्ष ६ हजार क्विन्टल धान किन्ने लक्ष्य राखेको थियो । तर बेमौसमी वर्षाका कारण धान खेतमै कुहिएपछि लक्ष्यअनुसार धान खरिद गर्न सकेन । ११ सय ६१ क्विन्टल मात्रै खरिद भएको उपाध्यायको भनाइ छ । कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ टन छ । यस वर्ष पनि विगतकै हाराहारीमा उत्पादन भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक बताउँछन् ।

Page 3
समाचार

सडकले टार्‍यो दुर्गमको भोकमरी

- विद्या राई

(मुगु) - पाँच दिन हिँडेर चामल जोहो गरेपछि मात्रै हुम्लाको चंखेली रिमी गाउँकी मायादेवी शाहीको परिवारले पेटभरि खान पाउँथे । वर्षातको पहिरो, हिउँदको चिसो र हिउँ छिचोल्दै उनी भोक मेटाउन भोकभोकै चामलको भारी बोक्थिन् । दक्षिणी हुम्लाको चंखेलीबाट सदरमुकाम सिमकोट पुग्न पैदल तीन दिन र छिमेकी मुगु सदरमुकाम गमगढी पुग्न दुई दिन लाग्छ । भरियाले त तीन दिन नै खर्चिनुपर्छ ।
‘पाँच जनाको परिवारलाई छाक जुटाउन कम्ता सास्ती भोग्नुपरेन,’ बुधबार हुम्ला र मुगुको सिमाना चंखेलीपासमा भेटिएकी ३५ वर्षीया शाहीले भनिन्, ‘अहिले त सडक आएपछि जिप गुड्न थालेका छन्, चामल पनि गाउँमै पाउँदा सुविस्ता भएको छ ।’
समुद्री सतहदेखि ३३ सय मिटर उचाइमा रहेको चंखेलीपास हुँदै बेलायती सरकारबाट १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार लागत सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम (तेस्रो चरण–र्‍याप) अन्तर्गत ६७ किलोमिटर मुगु–हुम्ला लिंक रोड बनेपछि मायादेवीजस्ता गाउँलेको सास्ती हटेको छ । भोक मेटाउनकै लागि नुन, तेल र चामल बोक्नुपर्ने हुम्ली र मुगुवासीलाई सडकले राहत दिएको छ । मुगु हुँदै सुर्खेत, नेपालगन्ज, भारत तथा काठमाडौं पुग्न प्रयोग गर्ने पैदल मार्गलाई प्रतिस्थापन गर्दै सडक बनेको हो ।
स्वास्थ्य उपचार, दैनिक उपभोग्य खरिदका लागि गमगढी नजिक पर्ने भएकाले चंखेलीवासी नागरिकता बनाउन तथा प्रशासनिक काममा मात्रै सदरमुकाम जान्छन् । गमगढी हुँदै हुम्ला जोडिएको सडकले पैदल यात्राको सास्ती पनि घटाएको छ ।
हिमाली भेगमा पर्ने हुम्ला र मुगुमा खेती उब्जनी कम हुने भएकाले जहिल्यै खाद्यान्न अभाव बेहोर्नुपर्छ । गरिबीको लघु क्षेत्र अनुमान २०६८ अनुसार साविक ७५ जिल्लामध्ये हुम्ला ७२ औं गरिब जिल्ला हो । राष्ट्रिय योजना आयोगको गत वर्षको बहुआयामिक गरिबी सूचकांक प्रतिवेदनअनुसार सातै प्रदेशमध्ये कर्णालीमा सबैभन्दा बढी गरिबी (३९.५ प्रतिशत) छ । हुम्ला र मुगुका बासिन्दाको खेती उब्जनीले मुस्किलले तीनदेखि छ महिना मात्रै खान पुग्छ । बिहान–बेलुकी छाक टार्न अन्न किन्नैपर्छ । ‘बिहान खायो, बेलुका के खाऊँ थियो,’ मायादेवीकी छिमेकी धनपति बुढाले खुसी व्यक्त गरे, ‘अहिले सस्तोमै चामल पाउन थालेपछि पेटभर खान पाएका छौं ।’
बजारमा चामलको मूल्य बढ्दै गए पनि ढुवानी दर कम पर्न थालेपछि स्थानीयले सस्तो महसुस गरेका हुन् । सडक पुग्नुअघि गमगढीबाट खच्चडलाई बोकाएर घर पुर्‍याउन प्रतिकिलो चामलको ढुवानी भाडा ३० रुपैयाँ पर्थ्यो । अहिले ट्र्याक्टर, जिपले प्रतिकिलो १० रुपैयाँमै घरपायक ठाउँमा झारिदिन्छन् । कच्ची नै भए पनि ठूला भीरपहरा छिचोलेर गाउँमा सडक पुगेपछि खाद्यान्न आयात र यातायातमा सहज भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामका ५० वर्षीय चन्द्रबहादुर बुढा सडक आएपछि रोजगारीको अवसर पनि खुलेको बताउँछन् । ‘हामी दुर्गमका मान्छे, यसरी रोड आउला, गाडी देखौंला भन्ने कहिल्यै सोचेका थिएनौं,’ उनले भने । कोरोना महामारीले गर्दा अन्य क्षेत्रका मानिसले रोजगारी गुमाइरहेका थिए, यहाँ भने सडक निर्माणमा स्थानीयले रोजगारी पाए । र्‍याप कार्यक्रमका अनुसार सडक पुगेपछि यहाँ खाद्यान्नको मूल्य ४३ प्रतिशतले घटेको छ । गाउँ–गाउँमा बजार विस्तार भएका छन् ।
कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका स्थानीय भोकमरीसँग जुध्न भारतको रोजगारीमा निर्भर छन् । ०७५ मंसिरदेखि ०७९ जेठसम्म मुगु–हुम्ला लिंक रोड बन्दै गर्दा यहाँका ४ हजार ४ सयभन्दा बढीले रोजगारी पाएका थिए । कुल श्रमिकमध्ये ३५ प्रतिशतभन्दा बढी महिला थिए । ‘यसको राम्रो पक्ष भनेको समान ज्याला पाए, पुरुष र महिलाबीच भेदभाव र हिंसा भत्काउने यो पो गज्जबको तरिका रहेछ,’ छायाँनाथ रारा–१३ का वडाध्यक्ष वीरबहादुर खड्काले भने, ‘आर्थिक अवस्था मजबुत भएपछि महिला आत्मविश्वासी बन्दारहेछन् ।’
र्‍यापको अभिलेखअनुसार एक घरबाट पाँच जनासम्मले रोजगारी पाए भने प्रत्येक श्रमिकले आठ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । चंखेली रिमीका धनपति बुढाका अनुसार सडक निर्माण अवधिभर भारत गएर मजदुरी, ज्यालादारी तथा चौकीदारी गर्नुपर्ने बाध्यता टरेको थियो । उनी आफैंले पनि १० जनाको परिवार पाल्न भारत जानुपरेन । सडक निर्माणको सामुदायिक समूहमा रहेर उनैले नेतृत्व गरे । सिजनमा आलु र स्याउ मनग्ये फल्ने आफ्नो गाउँमा सडक जोडिएपछि उनले स्याउ खेती विस्तार गरे । तर, जेठमा निर्माण सम्पन्न भएको सडक वर्षातले भत्किएपछि स्याउ बेच्न भने पाएनन् । ‘बल्ल बाटो आयो, हाम्रा उत्पादनले पनि बजार भाउ पाउँछन् कि भन्ने आस छ,’ उनले भने, ‘सडकको स्तरोन्नति गर्दै कालोपत्र गरिदिए धेरै राम्रो हुने थियो ।’
यो सडक बेलायतको सहयोगमा नेपालमा निर्माण भएका सडकमध्येकै लामो हो । ६७ किमि लामो सडकको चौडाइ साढे चार मिटर छ । गमगढीदेखि मुगु कर्णाली नदीसम्म ४ किमि सडक स्तरोन्नति गरिएको थियो । त्यहाँबाट रुगाँ, लुम, बाम, चंखेली हुँदै हुम्लाको देउलीसम्म ६३ किमि नयाँ सडक निर्माण भएको हो । सडकले ३७ किमि मुगु र ३० किमि हुम्लालाई समेटेको छ । सडकमा पर्ने चार वटा खोलामा मोटरेबल पुल बनाइएका छन् । सकेसम्म कम भौगोलिक क्षतिलाई ध्यान दिँदै ट्र्याक खन्न डोजर प्रयोग भएको थियो । कमजोर र भिरालो भूबनोट भएको यस भेगमा डिजाइन र निर्माण क्रममा जलवायु उत्थानशील नीति अपनाइएको थियो । काटिएका प्रत्येक रूखको क्षतिपूर्तिस्वरूप थप २५ बिरुवा रोपिएको थियो ।
गत जेठमै निर्माण सम्पन्न भए पनि बुधबार मुगुको बाममा औपचारिक उद्घाटन गरी बेलायती राजदूत निकोला पोलिटले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सडक हस्तान्तरण गरेकी छन् । स्थानीय बासिन्दा, सरकारका निकायका प्रतिनिधि, सरोकारवाला विज्ञहरू एकजुट भई सडक निर्माण गर्ने ठूलो लक्ष्य सफल भएको राजदूत पोलिटले बताइन् । ‘यो नेपालका लागि बेलायतको हरित, जलवायु उत्थानशील मोडेलको विकासको लक्ष्य पूरा गर्ने दीर्घकालीन रणनीतिक सहकार्यको ज्वलन्त उदाहरणसमेत हो,’ उनले भनिन् ।
हुम्ला र मुगुमा सडक सञ्जाल विस्तार भए पनि बाह्रैमास यातायात सुविधा छैन । मुगु–हुम्ला लिंक रोडमा वर्षातको बाढीपहिरोले ठाउँ–ठाउँमा क्षति पुर्‍याएको छ । सडक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहीले विकासको पहिलो आधार नै सडक भएको बताउँदै चंखेली गाउँपालिका र छायाँनाथ रारा नगर प्रमुखलाई सडक मर्मतसम्भार गरी नियमित सञ्चालनका लागि आग्रह गरे ।
हुम्ला सदरमुकाम सिमकोट अझै पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । मुगुमा जिल्लाभर पक्की बाटो छैन । बर्खामास हिलाम्मे सडकमा गाडी भासिन्छ भने पहिरोले सडक सञ्जाल नै टुट्छ । हिउँदमा धूलोका कारण जोखिम मोलेर सवारी चलाउनुपर्छ । ‘बर्खामास साह्रै दुःख छ, बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्छ,’ चंखेलीको बोहोरावाडाका ५९ वर्षीय गोराबहादुर बोहराले भने, ‘हेलिकोप्टरमा ७ लाख लिन्छ, गरिबले कसरी सक्नु ?’ गम्भीर बिरामीले समयमै उपचार नपाउँदा घरमै र कतिपयको बाटैमा ज्यान जाने गरेको उनले सुनाए ।
गमगढीकी मायादेवी मल्लले सडक कालोपत्र नहुँदा गर्भवती, सुत्केरी र गम्भीर अवस्थाका बिरामीलाई समयमा अस्पताल पुर्‍याउन नसकिएको बताइन् । ‘अस्ति बर्खामा जिल्ला अस्पतालको हेलिप्याडमा हेलिकोप्टर बस्न नसकेर व्यक्तिको जग्गामा बसाएर सुत्केरीको उद्धार गर्नुपरेको थियो,’ उनले भनिन्, ‘गमगढीदेखि ताल्चा विमानस्थलसम्म मात्रै कालोपत्र भए पनि बिरामीलाई आपत् पर्दैनथ्यो ।’

 

Page 4
वाग्मती प्रदेश

हेलम्बु पदमार्ग अन्तिम चरणमा

- अनिश तिवारी

(सिन्धुपाल्चोक) - चर्चित पर्यटकीय गन्तव्य ह्योल्मो भूमि हेलम्बुबाट रसुवाको प्रसिद्ध लामटाङ र गोसाइँकुण्ड क्षेत्र जोड्ने दुई पर्यटकीय पदमार्ग अन्तिम चरणमा पुगेका छन् ।
पर्यटन विभागको नौ करोड लागतमा हेलम्बु गाउँपालिकाको पहलकदमीमा निर्माणाधीन हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लामटाङ जोड्ने ३० किलोमिटरमध्ये तीन किमि मात्रै बन्न बाँकी छ । पर्यटकको रुचिमा परेको पुरानो पदमार्ग मानिने हेलम्बु, डुपु, भेमाथाङ, गन्जलापास (१० किमि) दूरीको पदमार्ग खोल्ने काम लगभग सकिसकेको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
‘प्रमुख पर्यटकीयस्थल लामटाङ र चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जोड्ने
दुई प्रमुख पदमार्गमध्ये लामटाङ जोड्ने पदमार्ग पुग्न ३ किमि मात्रै बाँकी छ
भने २२ लाख खर्चिएको गन्जलापास पदमार्गको मर्मत सम्भारको काम सकिँदै छ,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने । ह्योल्मो धार्मिकस्थल जोड्ने दर्जनौं पदमार्गमा शाक्यमुनि बुद्धपछिका दोस्रो बुद्ध मानिएका गुरु रेन्पोछे या पद्मसम्भव, तिब्बती महायोगी मिलारेपा तपस्यास्थल, पुराना गुम्बादेखि आमायांग्री (धनकी देवी) सम्मको ‘ट्रेकिङ रुट’ तयार रहेको उनले सुनाए ।
भूकम्प र पराकम्पनले पुरानो ह्योल्मो सभ्यता र धार्मिक महत्त्व बोकेको हेलम्बुको दुई दर्जन पदमार्ग ध्वस्त बनाउँदा यहाँको पर्यटन पूरै बिथोल्यो । भूकम्पअघि ह्योल्मो जातिको उद्गमस्थल मानिने हेलम्बुको तार्केघ्याङ, गुरु रेन्पोछे गुफा, मेलम्चीघ्याङ, महादेव पाइला, मिलारेपासहित चिरी गुम्बाजस्ता अनेक प्राचीन गुम्बा, तीर्थस्थल घुम्दै वार्षिक ३६ हजार पर्यटकले यहाँ आइपुग्थ्ये । हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको सीमास्थित आमा ह्योल्मो (आमायांग्री), पाँचपोखरी, डुग रेन्जेन ड्राइगन गुफा, ठूलो ढुंगाको मनोरम दृश्य पदमार्ग प्रयोग गरेर हेर्दै ह्योल्मो होमस्टेमा बस्थ्ये । तर, भूकम्पपछि गाउँलाई सुगम बनाउने विकासे सडक लगिरहँदा पर्यटकीय पदमार्गलाई केही खल्बल्यायो । भूकम्प गएको चार वर्षपछि गाउँपालिकाले पुरानो पदमार्गको मर्मत सम्भार र महत्त्वपूर्ण पदमार्गको निर्माणलाई तीव्रता दिँदै पर्यटकीयस्थल पुनर्निर्माणमा लाग्यो ।
‘त्यो सपना लगभग अब पूरा गर्ने चरणमा छौं, हेलम्बु र पाँचपोखरीको सीमा क्षेत्र ह्योल्मो देवी, आमायांग्री, पाल्चोक माईदेखि झिचेन मिलारेपासम्म पदमार्ग बनाउने बृहत् कार्ययोजनालाई तीव्र रूपमा अघि बढाइरहेका छौं,’ उनले भने । अहिले पदमार्ग जोडिनै लाग्दा पनि यही रुटबाट गोसाइँकुण्ड र लामटाङ जाने विदेशी र स्वदेशी पर्यटक घुम्न यस क्षेत्रमा धमाधम आउन थालेका छन् ।
यसअघि गाउँपालिकाले उद्देश्य लिएका दर्जनौं पदमार्गमध्ये सुन्दरीजल, कुटुम्साङ–घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, शेर्माथाङ–पाल्चोक जय बागेश्वरी भगवती पदमार्गको हालै स्तरोन्नतिको काम सकिएको छ । चीनको ग्रेटवाल हेरेर बौद्ध ह्योल्मो धार्मिक कथनसँग जोडिएको धर्मचक्र पर्खाल ‘हिमालयन गुरु रेन्पोछे ग्रेट ट्रेल’ लाई हेलम्बु घेर्दै अन्तिम चरणमा पुर्‍याइँदै छ । लामटाङबाट हेलम्बु भित्रिने पर्यटकले
ह्योल्मो परम्परा, धार्मिकस्थल डुपुबाट मेलम्ची खानेपानीको मुहान भेम भेमथाङ हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’ को कार्ययोजना हेलम्बु सरकारले बनाएको छ ।
हेलम्बु–१ का मिङमार लामाले ह्योल्मो ग्रन्थअनुरूप पवित्र मानिने ‘छुह्यालागेन्जेन’ एक सय ८ वटा पानीको मूल फुटिरहेको या बालुवा भएको चौर, ताल, अम्बाथान झरना र हेलम्बु खोलाको मुहान हेर्न पाइने बताए । गुम्बैगुम्बाको सहर शेर्माथान,
ह्योल्मो बस्ती मेलम्चीघ्याङ, तार्केघ्याङ, घ्याङुल, झिचेन मिलारेपा र पद्मसम्भवले तपस्या गरेको गुफा ढुक्पु, गुरु रेन्पोछे छाप वा पाइला, तेम्बाथाङ, आमायांग्री चिरीगुम्बा, पाल्चोक भगवती, कुटुम्साङजस्ता आकर्षक स्थल हेलम्बुमा हेर्न सकिन्छ ।

वाग्मती प्रदेश

उडानमा गएका ‘क्रु’ लाई दुर्व्यवहार

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल एयरलाइन्सको हडतालका बेला साथ नदिई उडानमा सहभागी भएर व्यवस्थापनलाई सघाएको आरोपमा नौ जना एयरहोस्टेसलाई उनीहरूकै सहकर्मीले दुर्व्यवहार गरेका छन् ।
दुई जना एयरहोस्टेस स्मिता गुभाजु र आरती महर्जनको करार नवीकरण नगरेको विरोधमा नेपाल वायुसेवा निगममा कार्यरत एक सय ५७ क्याबिन क्रु (परिचारिका र परिचारक) हरूको संगठनले बुधबार र बिहीबार हडताल गरेको थियो । सहकर्मीहरूको करारलाई निरन्तरता दिनुफर्ने माग राख्दै ७७ जना क्याबिन त्रु निगम मुख्यालयमा भएको हडतालमा सहभागी भएका थिए ।
हडताल भएकै दिन बुधबार काठमाडौंबाट निगमले दिल्ली, मलेसिया र दुबई उडान गरेको थियो । ती उडानमा गएका एयरहोस्टेसहरू सुष्मा तामाङ, सन्तमाया तामाङ, शोभा केसी, नगिना नेपाल, सनम योगल, नीता गिरी, मुना केसी, पुनम राई र रोजी केसीले आफूहरूलाई बिहीबार जहाजबाट ओर्लिने बेला हडतालपछि व्यवस्थापनसँग सम्झौता गरेर उडानमा जाँदै गरेका क्याबिन क्रु संघका पदाधिकारीले दुर्व्यवहार गरेको शुक्रबार निगममा दर्ता गरिएको उजुरीमा उल्लेख छ । उनीहरूले हडतालका दिन क्याबिन क्रुको अभाव भई उडान ढिला भएपछि व्यवस्थापनको निर्देशनअनुसार आफूहरू ड्युटीमा खटिएको उल्लेख गरेका छन् । तर, हडतालमा सहभागी सहकर्मीहरूले खिसिटिउरी गर्दै विभेद गरेको आरोप उनीहरूले लगाएका छन् । पीडितहरूले राष्ट्र र जनताको सेवामा जाँदा आफ्नै सहकर्मीहरूले गरेको दुर्व्यवहारले आगामी दिनमा काम गर्ने वातावरण नहुने भन्दै कारबाहीको माग गरेका छन् ।
आन्दोलनमा सहभागी एक वरिष्ठ एयरहोस्टेसले हडतालमा असहयोग गरेको र सामूहिक च्याटको स्क्रिनसट कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पठाइएको अभियोगमा केहीलाई सम्झाउन खोजिएको बताइन् । ‘क्याबिन क्रूहरूको संघका गोप्य योजना व्यवस्थापनलाई चुहावट गरेकामा धम्कीचाहिँ दिएका होइनौं, आइन्दा त्यसो नगर्न भनेका थियौं,’ उनले भनिन्, ‘संघको सामूहिक म्यासेज व्यवस्थापन पक्षलाई गोप्य शैलीमा पठाउने केही एयरहोस्टेसलाई म्यासेन्जर समूहबाट हटाइएको हो ।’

वाग्मती प्रदेश

दुई गैंडा मृत फेला

- कान्तिपुर संवाददाता


चितवन (कास)– दुई दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । यीसहित साउनयता चितवन निकुञ्जमा मरेको भेटिएका गैंडा संख्या ५ पुगेका छन् ।
सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पश्चिम सेक्टरको लामिचौर पोस्टअन्तर्गत गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा करिब १५ वर्षको पोथी गैंडा मृत फेला परेको छ । नियमित गस्तीको क्रममा निकुञ्जको टोलीले बिहीबार गैंडा मरेको भेटेको थियो । गैंडाको खाग र खुर सुरक्षित छ ।
यसअघि गत बुधबार पश्चिम सेक्टरकै अमलटारी कुजौली पोस्टअन्तर्गत नारायणी नदी किनारमा ६ महिना जतिको भाले बच्चा गैंडा मृत भेटिएको थियो ।

Page 5
अर्थ वाणिज्य

विद्युत् लाइन भूमिगत गर्ने काम अति सुस्त

- सीमा तामाङ

(काठमाडौं) - २०७९ साउनसम्म काम सक्ने लक्ष्य लिँदै नेपाल विद्युत् प्राधिकरणले ०७६ फागुनबाट काठमाडौं उपत्यकाका विद्युत् तार लाइन भूमिगत गर्ने काम सुरु गरेको थियो । समय सकिएको तीन महिना गुज्रिसक्दासमेत काम सकिनु परको कुरा, भएको प्रगतिसमेत सन्तोषजनक छैन । उपत्यकाभित्रको विद्युत् प्रसारण लाइन, वितरण प्रणाली र केबल लाइनलाई भूमिगत गर्ने योजनाको काम सुस्त हुँदा अवस्था यस्तो भएको हो । प्राधिकरणले भने कोरोना महामारी र सडक विभागले गरिदिएको ढिलाइलाई दोष दिने गरेको छ ।
‘रत्नपार्क वितरण केन्द्रअन्तर्गत ४० प्रतिशत भौतिक प्रगति छ । महाराजगन्जअन्तर्गत ६५ प्रतिशत भएको छ,’ प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘यो काममा विभिन्न समस्या आइरहेका हुन्छन् । त्यसैले द्रुत गतिमा काम गर्न सकिएको छैन ।’ सुरु भइसकेका सबै आयोजनाका काम १५ महिनाभित्र सक्ने गरी अघि बढेको उनको दाबी छ । मुख्य गरी सडकमा काम गर्न नपाउँदा बिजुलीको तार भूमिगत गर्ने प्रक्रिया नै ढिलाइ भएको उनले बताए । ‘सडकबाट अनुमति पाइँदैन, फुटपाथ साँघुरा छन्, काम गर्नै गाह्रो छ,’ उनले भने । जेलिएका तार व्यवस्थापन गरी कुरूप सहरलाई सुन्दर बनाउनकै लागि आयोजना सुरु गरिएको उनको भनाइ छ । उपत्यकाका तार सबै भूमिगत गर्न सके सुन्दर सहर निर्माणमा सहयोग पुग्ने उनले बताए ।
रत्नपार्क वितरण केन्द्रअन्तर्गत चाबहिल, चुच्चेपाटी, मित्रपार्क, लैनचौर, लाजिम्पाट, धोबीखोला करिडोर क्षेत्रमा भूमिगत गर्ने काम सकिएको काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख प्रमुख सुमन श्रेष्ठले जनाए । सामाखुसी, महांकाल, टेकु क्षेत्रमा भूमिगत कार्य भइरहेको उनको भनाइ छ । ‘यस प्याकेजमा पहिले नै १५ महिना समय थपिइसकेको छ । उक्त अवधि पनि मध्य जनवरीसम्म मात्रै हो,’ उनले भने, ‘यस अवधिमा काम नसकिने हुँदा म्याद थप्ने प्रक्रिया अघि बढाएका छौं ।’ अन्य क्षेत्रमा सडक खन्न सडक विभागसँग समन्वय भइरहेको उनले सुनाए । समयमै अनुमति नपाउँदा र कोरोना महामारीका कारण काममा ढिलाइ भएको उनको भनाइ छ । प्राधिकरणका अनुसार यो खण्डको भौतिक प्रगति ६३.९३ र वित्तीय प्रगति ६५.७१ प्रतिशत छ ।
विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ । यी संरचनालाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर विद्युत् पोल हटाउने प्राधिकरणको योजना हो । महाराजगन्ज वितरण केन्द्र मातहत ६ सय किमि तार अन्डरग्राउन्ड गर्न लागिएको छ । बूढानीलकण्ठ चपली, गोल्फुटार, हात्तीगोडा, महाराजगन्जलगायतका विभिन्न स्थानमा भूमिगत कार्य भइरहेको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले बताए ।
‘गोंगबु बसपार्कदेखि चाबहिल चक्रपथ विस्तार हुँदै छ, त्यस कारण हाम्रो काम रोकिएको छ,’ अधिकारीले भने, ‘त्यसकारण जेठदेखि नै ठेकेदार खाली छ ।’ महाराजगन्ज, पानीपोखरी, गोल्फुटार, मन्डिखाटर, बालुवाटार आसपासका सडकमा ‘रोड रिस्टोरेसन’ को काम भइरहेको उनले सुनाए । प्राधिकरणका अनुसार यस आयोजनामा ६३.४१ प्रतिशत भौतिक र ६३.७३ प्रतिशत वित्तीय प्रगति छ । काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत कीर्तिपुर, जोरपाटी, साँखु, मातातीर्थ क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख पीयूष मालाकारले बताए । ‘अहिलेसम्म २२ प्रतिशत काम सकियो,’ उनले भने, ‘ठेक्काको समय अझै एक वर्ष बाँकी छ । त्यतिन्जेल ८० देखि ९० प्रतिशत काम सकाउने लक्ष्य छ ।’ समयमा सडक खन्ने अनुमति नपाउँदा उल्लेख्य प्रगति गर्न नसकेको उनले जनाए । प्राधिकरणको चालु आर्थिक वर्षको असोजसम्मको प्रमुख क्रियाकलापअनुसार हालसम्म २७.४६ प्रतिशत भौतिक र २२.०२ प्रतिशत वित्तीय प्रगति भएको छ ।
उपत्यकाका भक्तपुर तथा ललितपुर र भरतपुर एवं पोखरा महानगरपालिकामा पनि प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्ने काम अघि बढेको छ । ‘भक्तपुरका लागि आवश्यक निर्माण सामग्री ल्याइसकिएको छ । डिजाइन तयार भइसक्यो । अहिले फाउन्डेसनको काम र भक्तपुर सबस्टेसन र ठिमी सबस्टेसनलाई जोड्ने काम हुँदै छ,’ उनले भने, ‘ललितपुरमा २६/२७ वटा फिडर राख्ने काम भइरहेको छ ।’
प्राधिकरणले भने एचटी र एलटी लाइन निर्माणका लागि सर्भे भएको र एचटी तथा एलटी केबल साइटमा पुगेको जनाएको छ । यस क्षेत्रको काम १६.२५ प्रतिशत भएको छ । यसको वित्तीय प्रगति भने ९.८७ प्रतिशत छ । भरतपुरमा समेत आवश्यक सामग्री पुर्‍याइसकेको र डिजाइनको काम भइसकेको आयोजना प्रमुख झाले बताए । सबै ठाउँमा सडक विभागले अनुमति दिनासाथ सडकको काम गरिने उनले जनाए । पोखरा र भरतपुर क्षेत्रको भौतिक प्रगति १२.९२ र वित्तीय प्रगति ९.०६ प्रतिशत छ ।
बिजुलीका तार भूमिगत गर्ने काम सडक खन्ने अनुमति नपाउँदा सुस्त भएको प्राधिकरणको दाबी छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारी भने स्वीकृति लिने तर समयमा काम नसकाउने प्रवृत्तिले गर्दा एकै पटक स्वीकृति नदिएको बताउँछन् । ‘प्राधिकरण सबै ठाउँ एकै पटक सडक खन्ने गरी स्वीकृति लिन आउँछन्, त्यसरी दिन मिल्दैन, सडक ध्वस्त हुन्छ,’ उनले भने, ‘त्यसमाथि तीन महिनाका लागि स्वीकृति लिने तर एक वर्षसम्म नगर्ने प्रवृत्ति छ । एक ठाउँको काम सकिएपछि अर्को ठाउँका लागि स्वीकृति लिन आउँदा पाइन्छ ।’ अनुमति लिएको सडक खनेर त्यसलाई सक्दो चाँडो पुरानै अवस्थामा ल्याउनुपर्ने उनले जनाए । सर्वसाधारणले सास्ती पाएकै कारण सबै सडकको काम सकेपछि मात्रै नयाँ अनुमति दिने विभागको नीति रहेको उनको भनाइ छ ।

अर्थ वाणिज्य

इन्धनको मूल्य घट्यो

- कान्तिपुर संवाददाता

 


काठमाडौं (कास)– नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ । यस पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि मूल्य घटाएाके हो ।
निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । सरकारलाई बुझाउनुपर्ने ऋण पनि ७ अर्ब रुपैयाँ छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा बक्यौता तथा ऋण रकम थपिएको निगमको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो छ । डेढ महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५ डलर हाराहारी घटेको छ । तेल उत्पादक मुलुकहरूको संगठन ओपेक प्लसले नोभेम्बरमा कटौती गरेको परिमाणलाई निरन्तरता दिएको छ । युरोपियन मुलुकले रसियन कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको ‘क्याप’ लगाइदिएका छन् । यसले चीन र भारतले रसियन तेल आपूर्ति बढाएका छन् ।

अर्थ वाणिज्य

बाहिरी ऊर्जा बजारलाई विश्वासमा लिने प्रयत्नमा नेपाल

- राजेश मिश्र

(नयाँदिल्ली) - नेपालमा बिजुली उत्पादन बर्सेनि बढ्दै गएका बेला त्यसको बाह्य बजार सुनिश्चितता खोजीमा ऊर्जा उत्पादन क्षेत्रमा संलग्न सरकारी तथा गैरसरकारी निकाय लागेका छन् । नेपालमा उत्पादित बिजुलीको प्रमुख बाह्य बजार भारत र बंगलादेश हुन् । पूर्ण क्षमतामा हाल २ हजार २ सय ५३ मेगावाट उत्पादन हुँदा त्यसबाट करिब ५ सय मेगावाट बिजुली खपत नहुने अवस्था छ । यसै वर्षबाट ३ सय ८६ मेगावाट बिजुली भारतमा बेच्न थालिएको छ ।
नेपालको प्रणालीमा अर्को वर्ष सन् २०२३ मा थप एक हजार मेगावाट उत्पादन थपिँदै छ । हरेक वर्ष उत्पादन थपिँदै गएर सन् २०२६ सम्ममा अहिले निर्माणाधीन परियोजनाले उत्पादन थालिसक्दा नेपालको बिजुली उत्पादन क्षमता ७ हजार २ सय ६४ मेगावाट पुग्ने बताइन्छ । तसर्थ आगामी ३ देखि ४ वर्षभित्र ५ हजार मेगावाट बिजुलीको बजार सुनिश्चितता बाह्य मुलुकमा गर्नुपर्नेछ । यसैअन्तर्गत ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका ऊर्जा उत्पादकले नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रम ‘पावर समिट’ मा नेपालको ऊर्जा क्षेत्रको सम्भावना, उत्पादन र बजारबारे वकालत गरे ।
भारतीय उद्योगी व्यवसायीहरूको संस्था द एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (सीआईआई) ले शुक्रबार गरेको दक्षिण एसिया (बीबीआईएन) पावर समिटको ‘प्लेटफर्म’ लाई नेपालका सहभागीहरूले आफ्नो पक्षमा उपयोग गर्ने प्रयास गरे । ‘बीबीआईएन’ मा नेपाल, भारत, बंगलादेश र भुटान सदस्य राष्ट्र छन् । भारत र पाकिस्तानबीचको द्वन्द्वले सार्क निष्क्रिय बनाइएका बेला पछिल्लो समय भारतले ‘बीबीआईएन’ लाई सक्रिय पार्दै लगेको छ । कार्यक्रममा चारै देशका ऊर्जासँग सम्बन्धित अधिकारी तथा अन्य सरोकारवालाले ऊर्जाको अन्तरदेशीय बजार कसरी बढाउने, त्यसको सम्भावना र चुनौतीबारे छलफल गरे । नेपालको बजार सानो रहेकाले भारत र बंगालदेश नै नेपाली बिजुलीको बजार रहेको र त्यसमा सहजताका लागि नेपाली पक्षको आग्रह थियो ।
उत्पादनको क्षमता रहे पनि खपतको क्षमता नेपालसँग नरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । दक्षिण एसियाको ऊर्जा संकट कम गर्न नेपाल तयार हुँदै गरेको उनको भनाइ छ । बिजुली उत्पादनसँगै, बजार व्यवस्थापन र प्रसारण लाइन निर्माणमा आफूहरू लागिपरेको उनले जनाए । गत अप्रिलमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुई देशबीच ऊर्जा व्यापारका क्षेत्रमा भएका सहमतिले धेरै आशा जगाएको प्राधिकरणकै निर्देशक प्रबल अधिकारीको भनाइ छ । भारतको सीमापार विद्युत् व्यापार निर्देशिकालाई संकेत गर्दै उनले त्यसमा सुधारको अनुरोध गरे । भारतले आफूसँग सीमा जोडिएको देश जोसँग ऊर्जा व्यापार सम्झौता भएको छैन, त्यस देशको स्वामित्व रहेको वा उसले लगानी गरेको परियोजनाबाट बिजुली नकिन्ने नीति लिएको छ । त्यसको असर नेपालमा चिनियाँ पक्षको थोरै पनि संलग्नता रहेका परियोजनालाई परेको छ । अहिले नै अपर तामाकोसीबाट उत्पादित ४ सय ५६ मेगावाट बिजुली किन्न भारतले आनाकानी गर्दै आएको छ । त्यसमा चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का पाएको थियो । परियोजनामा भने २० लाखभन्दा बढी नेपालीको सेयर छ ।
नेपालले बिजुली उत्पादनमा मार्दै गरेको फड्कोबारे छिमेकी देशका सरकोकारवालालाई जानकारी गराउने अवसर प्राप्त भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) उपाध्यक्ष आशिष गर्गले बताए । ‘हामीकहाँ प्रत्येक वर्ष बढ्दै गएको उत्पादनबारे भारतीय पावर मार्केटलाई जानकारी गराउने काम समिटमा भएको छ,’ उनले भने, ‘नेपालको बिजुली सस्तो र जलविद्युत्बाट उत्पादित रहेकाले वातावरणमैत्रीसमेत रहेको बारे जानकारी गराएका छौं ।’
समिटमा भारतको विदेश मन्त्रालयका अधिकारी प्रभात कुमारले नेपालको बिजुली भारतले निरन्तर लिइरहने र त्रिदेशीय निर्यातमा पनि सहयोगी रहने बताए । ऊर्जा क्षेत्रका लागि भारतका नीति निर्मातादेखि खरिदकर्तासम्म उपस्थित रहेको ‘पावर समिट’ मा नेपालले आफ्ना सबै पक्षबारे कुरा राखेको र भारतीय सरोकारवालाबाट सकारात्मक प्रतिबद्धता आएको इप्पानका कार्यकारी निर्देशका शैलेश मिश्रको भनाइ छ ।

Page 6
Page 7
खेलकुद

विश्वकपमा एक्लै छाएकाहरू

- कान्तिपुर संवाददाता

कतार विश्वकप २०२२ को आइतबार हुने फाइनलमा फ्रान्सले अर्जेन्टिनाको सामना गर्दै छ । यो हुनेछ लियोनल मेसीविरुद्ध केलियन एमबाप्पेबीचको खेल । के यो विश्वकप मेसीको विश्वकपका रूपमा सम्झिने छ वा एमबाप्पेले फेरि चार वर्षअगाडि रुसमा हात पारेको सफलता दोहोर्‍याउने छन् ? यसै पृष्ठभूमिमा विश्वकप इतिहास पल्टाउने हो भने त्यस्ता ६ खेलाडीको सूची बनाउन सकिन्छ । जसले सिंगो प्रतियोगितामै आफ्नो एक्लो छाप छोड्न सफल भएका छन् । एएफपीले तयार पारेको सामग्री ः

 

पेले, ब्राजिल (सन् १९५८)
सन् १९५८ को विश्वकप हुँदा पेले भर्खर १७ वर्षका थिए । स्विडेनमा भएको विश्वकपका सुरुआती दुई खेल उनले खेल्न पाएनन् । तर लगत्तै सोभियत संघविरुद्धको २–० जितमा उनको प्रदर्शन गजब रह्यो । वेल्समाथि क्वाटरफाइनलमा प्राप्त १–० को जितमा त उनले निर्णायक गोल नै गरे । त्यसपछि त पेले मस्तसँग छाए । फ्रान्सविरुद्ध सेमिफाइनलको ५–२ जितमा पेलेले ह्याट्रिक गरे । अझ फाइनलमा स्विडेनविरुद्ध ५–२ को जितमा उनले दुई गोल गरे ।
मारियो केम्पस, अर्जेन्टिना (सन् १९७८)
अहिलेसम्म अर्जेन्टिनाले दुईपल्ट विश्वकप जितेको छ । प्रत्येकपल्ट एक खेलाडीको निकै महत्त्वपूर्ण भूमिका रह्यो । सन् १९७८ मा घरमै भएको विश्वकपमा अर्जेन्टिना विजयी भयो । त्यसका नायक थिए, मारियो केम्पस । त्यतिबेला उनी भ्यालेन्सियाबाट खेलिरहेका थिए । स्पेनी ला लिगामा लगातार दुई सिजन उच्च गोलकर्ता भएका थिए । पूरा अर्जेन्टिनी टोलीमा उनीमात्र विदेशबाट खेल्ने खेलाडी थिए । सुरुआती चरणमा गोल गर्न नसकेका केम्पसले त्यसपछि पोल्यान्ड र पेरुविरुद्ध समान दुई गोल गरेका थिए । नेदरल्यान्ड्ससँग फाइनलमा पनि उनले दुई गोल गरेका थिए ।
पाउलो रोसी, इटाली (सन् १९८२)
स्पेनमा भएको यस विश्वकपअगाडि पाउलो रोसी खेल मिलेमतो काण्डको दुईवर्षे प्रतिबन्ध सकाएर भर्खर मैदानमा फर्केका थिए । उनको छनोटलाई लिएर धेरै विवाद भएको थियो । उनको सुरुआत राम्रो रहेन । तर, सेमिफाइनल पुग्न ब्राजिलविरुद्ध जित्नैपर्ने खेलमा उनले उत्कृष्ट ह्याट्रिक गरे । त्यसपछि उनी रोकिएनन् । सेमिफाइनलमा पोल्यान्डमाथि २–० को जितमा दुवै गोल गरे उनले । अनि फाइनलमा पश्चिम जर्मनीविरुद्ध ३–१ को जितमा पनि पहिलो गोल गरेका थिए ।
डिएगो म्याराडोना, अर्जेन्टिना (सन् १९८६)
सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले कप्तानी भूमिका निभाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै प्रदर्शनमा टिकेर अर्जेन्टिनाले दोस्रोपल्ट विश्वकप जितेको थियो । समूह चरणमा इटालीसँग १–१ को बराबरीमा उनले पहिलो गोल गरेका थिए । क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदा दुवै गोल उनको नाममा रह्यो । त्यसमध्ये पहिलो गोल कुख्यात रह्यो, ‘ह्यान्ड अफ गोल’ का रूपमा । दोस्रो गोल भने विश्वकप इतिहासकै उत्कृष्ट रह्यो । बेल्जियमविरुद्ध २–० को सेमिफाइनल जितमा पनि उनले दुवै गोल गरेका थिए ।
जिनेदिन जिदान, फ्रान्स (सन् १९९८)
सन् १९९८ मा फ्रान्सले विश्वकप आयोजना गर्दा जिनेदिन जिदान फ्रान्सेली टिमका ‘पोस्टर ब्वाइ’ थिए । प्रतियोगिताको सुरुदेखि उनको खेल उत्कृष्ट रह्यो । साउदी अरेबियाविरुद्ध ४–० को जितमा उनले उत्कृष्ट प्रदर्शन दोहोर्‍याए तर रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । त्यसै कारण उनले त्यसपछिका दुई खेल गुमाए । त्यसपछि इटाली र क्रोएसियाविरुद्ध प्राप्त जितमा उनी फेरि खुबै छाए । ब्राजिलविरुद्धको फाइनल ३–० ले जित्दा जिदानले दुई गोल गरेका थिए । त्यागे पनि दुवै हेडबाट ।
रोनाल्डो, ब्राजिल (सन् २००२)
खासमा सन् १९९८ को विश्वकप यिनै ब्राजिली रोनाल्डोका लागि उत्कृष्ट हुने अनुमान गरिएको थियो । तर, त्यस्तो भएन । ब्राजिल फाइनल त पुग्यो, तर फ्रान्ससँगको खेलमा निरीहजस्तै देखियो । सन् १९९९ आइपुग्दा घुँडाको गम्भीर चोटले रोनाल्डोको खेलजीवन नै अन्त्य हुने अनुमानसमेत भयो । सन् २००२ आइपुग्दा दक्षिण कोरिया र जापानमा रोनाल्डो उत्कृष्ट लयमा रहे । उनले ७
खेलमा ८ गोल गरे । समूह चरणमा ४ गोल गरेका रोनाल्डोले जर्मनीविरुद्ध २–० को फाइनल जितमा दुवै गोल गरेका थिए ।

खेलकुद

समूह चरणमा तीन टिममात्र प्रस्ताव

- कान्तिपुर संवाददाता


दोहा (एएफपी)– चार वर्षपछि हुने अर्को विश्वकपमा एउटा समूहमा ३ टोलीमात्र राखिने योजना विश्व फुटबल महासंघ (फिफा) ले बनाइरहेको अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार जानकारी गराएका छन् । फिफाले यसअघि नै २०२६ को विश्वकपमा ३२ बाट बढाएर ४८ राष्ट्र राखिने घोषणा गरिसकेको छ ।
प्रस्तावित योजनाअनुसार सहभागी ४८ टोलीलाई पहिलो चरणमा १६ समूहमा विभाजन गरिने छ । उक्त संरचनाअनुरुप प्रत्येक समूहबाट शीर्ष दुई टोली छनोट गर्दा ३२ राष्ट्र नकआउट चरणमा प्रवेश गर्नेछन् । यसअघिका विश्वकपमा परम्रागत रूपमा एउटा समूहमा चार टोली रहँदै आएको थियो । कतार विश्वकपको पहिलो चरणको रोमाञ्चक सफलताले आफूहरू एउटा समूहमा तीन टोलीमात्र राख्ने कुराको पुनर्विचारमा प्रेरित भएको इन्फान्टिनाले जनाए ।
कतार विश्वकपमा समूह चरणका धेरै खेल रेफ्रीले अन्तिम सिटी नफुकेसम्म को टोली छनोट हुने निर्णयका लागि कौतूहल र रोमाञ्चक बनेको थियो । ‘एउटा समूहमा चार टोलीको प्रतिस्पर्धा निश्चय नै अविश्वसनीय रह्यो । अन्तिम खेलको अन्तिम मिनेटसम्म यसले रोमाञ्चकता दिएको थियो,’ अध्याक्ष इन्फान्टिनोले दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब हामीले यो ढाँचालाई पुनः हेर्नुपर्छ वा कम्तीमा फेरि छलफल गर्नुपर्छ, चाहे त्यो ३ टोलीको १६ समूह होस् वा ४ टोलीको १२ समूह । यो आगामी केही साता एजेन्डा हुनेछ ।’ इन्फान्टिनोले सन् २०२६ को विश्वकपलाई युरोपियन च्याम्पियनसिपको मोडलमा ल्याउन खोजिएको पनि जनाए । युरोपियन च्याम्पियनसिपमा ६ समूहमा ४–४ टोली राखिएको हुन्छ । समूहका शीर्ष दुई टोलीसहित चार शीर्ष तेस्रो हुने टोलीले पनि नकआउट चरणमा खेल्ने गरेका छन् । चार वर्षपछिको विश्वकप तीन देश अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन् ।
उनले विश्वकपमा राष्ट्र विस्तार गर्दा फिफालाई आर्थिक लाभ हुने बताए । यस विश्वकपबाट फिफालाई ७ अर्ब ५० करोड डलर नाफा भएकोमा विश्वकप सहभागी संख्या बढाएकाले पनि २०२६ मा ११ अर्ब डलर नाफा हुने प्रक्षेपण गरिएको छ । अर्को विश्वकपदेखि सहभागी राष्ट्रको संख्या बढाइएको, रंगशाला निर्माणको पूर्वाधार र उत्तर अमेरिकी बजारको आकारका कारण आम्दानीको स्रोत बढ्न लागेको इन्फान्टिनो जनाउँछन् ।
‘हामी फुटबलको शक्तिलाई लिएर उत्साही छौं,’ अध्यक्ष इन्फान्टिनोले भने, ‘फुटबलको प्रभाव ठूलो हुनेमा हामी विश्वस्त छौं । उत्तर अमेरिकामा अविश्वसनीय विश्वकप हुनेछ । तीन ठूला राष्ट्रले ४८ राष्ट्रको आतिथ्यता गर्नेछन् । धेरै खेल हुँदा ब्रोडकास्टिङका कारण आम्दानीको स्रोत बढ्नेछ । प्रायोजकले आफ्नो दायरा अझ ठूलो बनाउने छ । अमेरिकी फुटबलका लागि प्रयोग भएका ८०–९० हजार दर्शक क्षमताको रंगशालामा हामी विश्वकपका खेल खेल्ने छौं । यो इभेन्टका लागि ५५ लाख दर्शक आउने हामीले अनुमान गरेका छौं ।’

 

Page 8
खेलकुद

नेपालगन्जले आफ्नै बनाउनुपर्ने म्याराथन

- हिमेश

(काठमाडौं) - राथनसँग जोडिएका कथाहरू सुन्नुपर्छ, ती अद्भूत हुने गर्छ । आखिरमा ४२.१९५ किलोमिटर दौडिनु आफैंमा अदम्य बहादुरी हो । को जित्यो ? त्यो त अर्कै पाटो भयो । साहसिक काममा रूचि हुनेका लागि जीवनमा एकपल्ट म्याराथन दौड पूरा गर्नु पनि ठूलै उपलब्धि हुने गर्छ । त्यसैले पनि म्याराथनसँग जोडिएका अनेक कथा सुन्न पाइन्छ । म्याराथन विधामा नेपाल पनि कम्तीको छैन, दक्षिण एसियामा हामी अब्बल दर्जाकै छौं ।
त्यसैले हाम्रा खेलाडीसँग जोडिएका म्याराथनका कथा सुन्ने अवसर पाउनुपर्छ, अहोभाग्य महसुस हुन्छ । यो त भयो, खेलाडीतर्फको पक्ष । म्याराथनसँग सिधा जोडिने आयोजनास्थल पनि हो, भनौं सहर हो । यो उत्तिकै अर्को उल्लेखनीय पक्ष भयो । एउटा राम्रो कहलिएको सहर बन्न धेरै तत्त्व आवश्यक पर्ला, त्यसमध्ये त्यही सहरको नाममा जोडिएर म्याराथन भइरहेको छ भने त्यो जत्तिको उत्तम अरू नै हुनसक्छ र ?
भनिन्छ, कुन सहर कति सभ्य छ भनेर हेर्ने नै म्याराथन दौडका बेला हो । नेपाल र म्याराथन जोडिएर आउँदा एउटा ‘आइकोनिक’ तस्बिर सबैको मनमा आउन सक्छ । यो हो सन् १९६४ को टोकियो ओलम्पिकको दश्य । यसमा नेपालका धावक भूपेन्द्र सिलवाल जुत्ताविना दौडिरहेका छन् । सजिलो हो भनेर उनको खुट्टामा बाल्टिनबाट पानी फालिरहेकी हुन्छिन् एक जापानी महिला । यो तस्बिरलाई जापानी पत्रपत्रिकाले त्यही बेला पनि खुबै महत्त्वले छापेको थियो । उनीहरूले दिन खोजेको सन्देश थियो, जापानीहरू कति धेरै संवेदनशील हुन्छन् भनेर ।
यो सबै पृष्ठभूमि किनभन्दा एक साताअघि नेपालगन्जमा त्यही सहरको नाममा रहेको म्याराथन भयो । त्यो पनि आठौं संस्करण । नेपालमा सहरको परिचय बोकेर तीन म्याराथन हुने गर्दछ । काठमाडौं म्याराथन, पोखरा म्याराथन र यही नेपालगन्ज म्याराथन । यसमध्ये सबैभन्दा कान्छो हो, नेपालगन्ज म्याराथन । तर, सम्भवतः सबैभन्दा बढी व्यवस्थित दौड यही रहेको छ । यससँग नजिकसँग जोडिएकालाई लाग्दो हो, समस्या त अनेक छन् ।
होलान् पनि । तर, तुलना गर्ने हो भने यो साँच्चै बढी व्यवस्थित छ । फेरि यसपल्टको संस्करण आफैंमा ऐतिहासिक बन्यो । एक त यो आधिकारिक रुटमा आयोजना भएको थियो । त्यसमाथि एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्ट्यान्स रेसेस (एम्स) को वार्षिक क्यालेन्डरमै राखिएको प्रतियोगिता भयो । अझ एक धावकका लागि दौडका क्रममा जे जस्तो सुरक्षा र सुविधा चाहिन्छ, लगभग त्यसलाई पूरा गर्ने प्रयास भएको देखियो ।
साँच्चै अझै अपुग भने धेरै थिए । तर आयोजनाको तर्फबाट भन्दा पनि नेपालगन्ज सहरकै तर्फबाट बढी हो । नेपाली खेलकुदको दृष्टिकोणले भन्दा नेपालगन्ज ऐतिहासिक सहर हो । यो सहरले नेपाली खेलकुदलाई धेरै अब्बल दर्जाका खेलाडीहरू दिएको छ । ओलम्पियनदेखि कीर्तिमानी खेलाडीसम्म ।सायद पछिल्लो समय यस सहरको नेपाली खेलकुदसँग आफ्नो नाता केही कमजोर बनेको छ । खेलकुदसँग यो भाग्दै छ कि ।
सहरमा नेपालगन्ज म्याराथन भइरहेको छ, तर अधिकांस स्थानीय यससँग उदासीन देखिए । रुट घुम्ने क्रममा धेरैलाई सुरुमा आफ्नै सहरमा म्याराथन भइरहेको थाहा थिएन, थाहा भएकालाई पनि त्यसप्रति त्यति चासो रहेको देखिएन । कुनै समय खेलकुदमा गुल्जार रहेको नेपालगन्ज अचेल धेरै ठूलो भएको छ सहरको रूपमा । तर, आफू फैलिने क्रममा कहींकतै यसले आफैंमा रहेको बहुमूल्य खेलसंस्कृति त गुमाइरहेको छैन ? नेपालगन्ज म्याराथनका क्रममा धेरैले कहींकतै यस्तै महसुस गरेको हुनुपर्छ ।
तर, बिग्रेको केही छैन । कहींकतै बिग्रेको छ भने त्यसलाई सपार्न सकिन्छ । आठौं संस्करणसम्म लगातार आयोजना हुन सक्नु नै यो दौडको आफ्नै ठूलो विशेषता रह्यो । यसलाई नेपालगन्ज आफैंले आफ्नो मानेर अझ भव्य र व्यवस्थित गर्ने हो भने फाइदा त्यही सहरलाई नै हुनेछ । यो त अहिले नै नेपालगन्जमात्र होइन, पश्चिम नेपालको शान हो । यस क्षेत्रको परिचय हो । अझ पछि यसले नेपालगन्जको पयर्टनसँगै अन्य आर्थिक पाटोलाई पनि सहयोग पुर्‍याउन सक्छ ।
सबैलाई थाहा छ, नेपालगन्ज म्याराथनको रुट सबैभन्दा सजिलो छ । यसमा कीर्तिमान बन्ने सम्भावना धेरै छ । तर, तिनै रुटको दायाँबायाँ खेलाडीलाई हौसला बढाउन आम नेपालगन्जवासी कम देखिए । नवौं संस्करणमा दौडको रुटले जहाँ–जहाँ छुन्छ, त्यहाँ टोल–टोलका वासिन्दा उठेर सडकका उत्रँदा त्यो दृश्य कम्ती मज्जाको हुन्छ र ? जानकी गाविस छोएर दौड अगाडि बढ्छ । यो मधेसी मुस्लिम बाहुल्य क्षेत्र हो । दौडका बेला तिनीहरूले आफ्नो संस्कृति झल्काउने झाँकीसँगै खेलाडीलाई प्रोत्साहित गर्न सक्छन् ।
हबल्दारपुरतिर जनजातिको बाहुल्य छ, विशेषतः मगर र गुरुङको । तिनले पनि त आफ्नो संस्कृतिलाई पस्कन सक्छन् दौडका क्रममा । कोहलपुरका बासिन्दा मिश्रित छन्, तर यहाँ पहाडी र थारु समुदायका बढी छन् । वैजनाथ पुग्दा त त्यहाँ थारु समुदायकै बाहुल्यता हुन्छ । नेपालगन्जको खास सुन्दर विशेषता भन्ने नै यही त हो । यहाँका बासिन्दा पनि किन चुप लागेर बस्ने दौडका बेला । तिनले पनि आफूले चाहे जस्तै दर्शककै रूपमा पनि म्याराथनलाई सहयोग गर्न सक्छन् ।
स्कुल–कलेजका विद्यार्थी स्वयंसवेकका रूपमा उत्रन सक्छन् । अझ दौडको सुरु र अन्त्य हुने बीपीचोक अझ दमदार छ । यसको छेउमै गुरुद्वार छ अनि सँगै मस्जिद र चर्च छ । अझ सँगसँगै वागेश्वरी मन्दिर छ, यो नेपालगन्जकै परिचय भयो । यही अनुपम समिश्रणलाई अनुभव गर्न नेपालगन्जवासी आफैं दौडमा सहभागी हुनसक्छ । सके म्याराथनमै । धेरैलाई लाग्दो हो, यो त निकै गाह्रो छ । होइन भने त्यसभन्दा छोटा दूरीको दौडमा भाग लिने ।
वर्षमा एकपल्ट नेपालगञ्ज म्याराथनमा दौडिन्छु मात्र भन्नुपर्छ, केही अभ्यास गर्नुपर्छ, गाह्रो केही हुन्न । अवसर धेरै छन्, मनमात्र हुनुपर्छ । त्यही टोकियो ओलम्पिकका बेला ती महिलाले जे गरेकी थिइन्, त्यसै गर्न सकिन्छ । भलै, त्यसको स्वरूप भने परिवर्तन हुनुपर्छ । यस्तो हुन सक्यो भने एउटा मीठो न मीठो माहौल बन्छ । यसले फिर्ता दिने भनेको नेपालगन्ज सहरलाई नै हो । विश्वास गरौं, नवौं नेपालगन्ज म्याराथन हुँदा कम्तीमा केही राम्रो हुनेछ ।

खेलकुद

ब्वाइज सिंगलमा आयुषमान पराजित

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी २० औं जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गर्ल्स डबल्समा च्याम्पियन बनेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिकाको जोडीले नेपालका प्रशंसा मोक्तान र आध्या पौडेलको जोडीलाई ६–४,
६–२ को सोझो सेटमा पराजित
गरेका थियो ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा सिंगलमा भारतका भिभान मिर्धा विजेता भए । फाइनलमा भिभानले नेपालका आयुषमान घलेलाई ५–७, ७–६ (३), ६–२ को सेटमा हराए ।
ब्वाइज डबल्समा पाकिस्तानका जोहेब अफजल मलिक र यमनका हमुद इयाडको जोडीले हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीलाई ६–०, ६–४ तथा भारतका सिद्धार्थ जिबु र भारतका भिभान मिर्धाको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ६–४, ६–२ को सोझो सेटमा हराएर फाइनल सुरक्षित गरे ।
ब्वाइज डबल्स र गर्ल्स सिंगलको फाइनल शनिबार हुनेछ । गर्ल्स सिंगलको उपाधिका लागि शिभाली र आध्या भिड्ने छन् ।

खेलकुद

फ्रान्सेली विश्वकप टोलीभित्र ‘रहस्यमय भाइरस’

- कान्तिपुर संवाददाता

दोहा (एएफपी)– अर्जेन्टिनासँग आइतबार विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीले चिसो जस्तो लक्षणका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् । राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध लुसेल रंगशालामा हुने फाइनलको दुई दिनअघि प्रशिक्षण गुमाएका हुन् ।
फ्रान्सको राष्ट्रिय टोलीको सिविरमा देखिएको यो रहस्यमय भाइरसका कारण प्रमुख मिडफिल्डर एड्रियन राबियोट र सेन्ट्रल डिफेन्डर डायोट उपामेकानोले मोरक्कोसँगको सेमिफाइनल खेल गुमाउन पुगेका थिए । यी दुवै खेलाडी भने शुक्रबारको प्रशिक्षणमा फर्किएका छन् । फ्रान्सेली फुटबल संघ (एफएफएफ) का अनुसार बायर्न म्युनिकका विंगर कोमनले ‘भाइरसको सामान्य संक्रमण’ का कारण बिहीबारको प्रशिक्षण पनि गुमाएका थिए ।
फ्रान्सका फरवार्ड रान्डल कोलो मुवानीले संक्रमणको कुनै असर नपर्ने शुक्रबार बताए । ‘टिमभित्र केहीलाई रुघा लागेको छ, तर त्यस्तो गम्भीर हुनुपर्ने केही छैन,’ उनले भने । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले यसै साता रंगशाला वातानुकूलित हुँदा त्यसकै कारण आफ्ना टोलीका केही खेलाडी बिरामी परेको आरोप लगाएका थिए । ‘जुनसुकै समयमा एयर कन्डिसन चलिरहेको कारण हाम्रो टोलीमा केही रुघाको संक्रमणहरू देखिएका छन्, तर यसलाई फैलिन नदिन हामीले प्रयासहरू गरिरहेका छौं,’ डेसच्याम्पले भने, ‘खेलाडीहरूले मैदानमा आफ्नो हिसाबबाट सक्दो प्रयास गरिरहेका हुन्छन्, त्यसैले तिनीहरूको प्रतिरक्षा प्रणालीमा असर परेको हुन्छ । शरीर कमजोर भएको अवस्थामा संक्रमण हुने सम्भावना बढी हुन्छ ।’
सन् १९६२ यता ब्राजिलले लगातार दोस्रो पटक विश्वकप जितेको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा छ फ्रान्स । टोली चार वर्षअघि रुसमा क्रोएसियालाई पराजित गर्दै फ्रान्स विश्व च्याम्पिन बनेको थियो । यता अर्जेन्टिनाका कप्तान मेसी आफ्नो उत्कृष्ट खेलजीवनलाई आफूले जित्न बाँकी रहेको एकमात्र ट्रफीले सुसज्जित गर्दै पूर्णविराम लगाउने दाउमा छन् ।
युरोप र दक्षिण अमेरिकी यी दुई शक्तिबीचको भिडन्तले मैदान तताएको छ । जसका कारण विश्वकप फाइनलको सस्तो टिकट पनि कालोबजारी भाउमा ४ हजार डलरसम्म बिक्री भइरहेको छ । ठूलो संख्यामा कतार आएका अर्जेन्टिनी प्रशंसकले दोस्रो दिन पनि दोहा होटलबाहिर आफ्नो देशको फुटबल संघले फाइनलको टिकट व्यवस्थापन गरिदिनुपर्ने भन्दै प्रर्दशन गरेका छन् ।
५१ वर्षे सिन्टिया इचानिसले फिफाले तोकिएको रकममै टिकट व्यवस्थापन हुनुपर्ने माग प्रदर्शनकारीको रहेको एएफपीलाई बताइन् । ‘हामी समस्या पार्न चाहन्नौं, हामी अर्जेन्टिनालाई रंगशालाभित्रबाटै समर्थन गर्ने मौका मिलाइदिन अनुरोध गर्न चाहन्छौं,’ उनले भनिन् । फाइनलपछि इन्फान्टिनोको भाषामा ‘अहिलेसम्मकै उत्कृष्ट विश्वकप’ टुंगिनेछ । तर श्रमिकमाथि चर्को दमन गरेको भनी युरोप र अमेरिकी राष्ट्रहरूले यसलाई अहिलेसम्मकै सबैभन्दा विवादास्पद विश्वकप भनेका छन् ।

 

Page 9
कोसेली

म एक 'लथालिङ्गी’

- ध्रुवचन्द्र गौतम

प्रिय पाठक,
म आज तपाईंहरूलाई एक शिशुको कथा सुनाउन चाहन्छु, जो अहिले जन्मेको छैन ।
एउटा परिवार थियो । राणाहरूको वक्रता र अन्य कतिपय परिस्थितिका कारण त्यो विस्थापित हुन पुग्यो । निर्वासनकालमा पनि त्यसले केही उद्यमहरू गर्न त खोज्यो, तर पूर्णरूपेण विफल भयो । अन्त्यमा परिवारको मुलीले घर साटफेर गर्दै काठमाडौं (बाँसबारी) बाट वीरगन्ज (कुम्हाल टोल) मा
आफ्नो थातथलो बसायो ।
यो शिशु आमाको गर्भमा छँदा परिवारमा पहिले नै धेरै सदस्य थिए । ‘न्युक्लियस’ को चलन त्यस बखतसम्म थिएन । परिवारको मुख्य सदस्य एउटा व्यक्ति, त्यो शिशु गर्भित नहुँदै पितृविहीन भइसकेको थियो । ‘न्युक्लियस’ को खास जमाना नआए पनि राणाकालमै त्यो भयावह आकारको परिवार भइसकेको थियो ।
अब त्यो परिवारमा एक मियो किसिमको पूर्णचन्द्र (गोविन्दचन्द्र), उनका भाइ तीर्थराज, आमा तेजकुमारी, श्रीमती दीपवती देवी, भाइबुहारी वैदेही र लगभग हुर्किसकेका तीन छोराहरू थिए । तीन पुत्र पहिल्यै जन्मिसकेकाले सुनिन्छ, त्यो परिवार अब एक पुत्रीको कामना गरिरहेको थियो । गर्भ–परीक्षण अहिले गैरकानुनी मानिन्छ, तर सम्भव त छ । त्यसबखत त असम्भव नै थियो । ईश्वरको लीला मानिन्थ्यो, तर पनि छोरीको चाहना थियो भन्छन्, त्यसकारण एक दिन एउटा सेते भन्ने कुनै जान्नेलाई बोलाइयो र ज्योतिष–विद्याद्वारा जान्ने कोसिस गरियो— छोरा जन्मिन्छ कि छोरी ?
सेते आयो । त्यसले पाटीमा केके कोरकार गर्‍यो । अछेतापाटी, सिन्दूर सब छरछार गरेर ध्यान लगायो । परिवारका उपस्थित सब सदस्य उत्सुक भएर प्रतीक्षा गरिरहेका थिए, सेतेले कहिले आँखा उघार्छ भनेर । १५–२० मिनेट ध्यानावस्थ भएपछि त्यसले आँखा उघार्‍यो र पूरा भविष्यत्काल देखेर आएको मुद्रामा भन्यो, ‘हेर्नुस् बाजे, छोरा त यो छोरै जन्मिन्छ, तर यसलाई पृथ्वीमा होइन खाटमा जन्माउनुहोला, निकै राम्रो हुनेछ ।’
सेते त त्यति भनेर गइहाल्यो । लुगा सिउँथ्यो सेते, तर यस्तो ‘आखत’–ज्योतिष–झारफुक जान्दथ्यो । वरपर नाम चलेकै थियो त्यसको ।
छोरा जन्मिने समाचारले परिवार खिन्न भयो कि भएन, त्यो अज्ञात छ । जन्म दिने दीपवतीको कुनै भाव थियो कि, त्यो झन् अज्ञात छ । तैपनि यो अनुमान गर्न सकिन्छ, ‘ईश्वरेच्छा’ भनेर परिवार निराशैचाहिँ भएन । किनभने परिवार बरु खाट जुटाउनतिर लाग्यो । के ठेगान ? यो खाटमा जन्म्यो भने विपन्नताबाट फेरि सम्पन्नतामा प्रवेश गरिन्छ कि ?
सारांश के भने जेजति गर्दा पनि त्यो टाट परिवारले खाट जुटाउन सकेन । सेते ज्योतिषीले मनाही गरेको पृथ्वीमै त्यो शिशु पूर्णचन्द्रको चौथो पुत्र थियो । छोरीको चाहना त अझ प्रबल भयो होला, तर त्यसपछि उनको पाँचौं सन्तान पनि छोरा नै भयो । राहत तब भयो, जब छैटौं र सातौं सन्तानचाहिँ छोरी भए ।
यी सब त ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने बेलाका कुरा हुन् । अहिले त हर घरमा ‘जनसंख्या–विस्फोट’ को भय बढ्दो छ । त्यो शिशु वास्तवमा परिवारको अति विपन्नावस्थामा जन्मेको थियो । अलिक ठूलो भएपछि लिटो–दूध कम र परिवारको पूर्व–सम्पन्नताको किस्सा चुस्दै हुर्किन थाल्यो । पछि ऊ ‘महाभारत’ मा द्रोणको छोराले माडलाई दूध भनेर खाने कथाका साथ क्रमशः अन्य कथाहरू पनि सुन्न र पढ्न थाल्यो । पढ्न थाल्यो भन्दा भ्रम नहोस् । त्यो शिशु हुर्केर अब स्कुल जाने भइसकेको थियो । तर, पढ्दा भने प्रायः
‘स्ट्यान्ड अप अन दे बेन्च’ क्याटोगोरीमा पर्दथ्यो । आफ्नो विद्यालयकालभर ऊ कति घण्टा खडा भएको छ, त्यसको हिसाब घण्टाले गर्न भ्याउँदैन, महिनामा गर्नुपर्छ, त्यो पनि एक महिनाले त छोपै लाग्दैन । एक वर्ष भनेर भ्याउला कि ? भन्न सक्दिनँ । उभिएर बेत खाने हिसाब यसमा राखिएको छैन । उभिएर खाए पनि त्यहाँ बेतको मात्र हिसाब हुन्छ । त्यसै पनि त्यो गणितहरूमा एक कमजोर विद्यार्थी, सधैंभरि अंग्रेजी ग्रामरको किताब ‘नेस्फिल्ड’ पढ्नुपर्दथ्यो । त्यो भन्थ्यो, ‘नेस्फिल्ड बुझ्नेजति अंग्रेजी आउने भए ग्रामर नै किन रट्नुपर्‍यो ?’ यो तर्क आफूमा कमजोर लाग्दैन थियो त्यसलाई । विपन्नताको समयमा यस्तै तर्कहरूले आफ्नो ‘भुसकोल’ लाई साम्य पार्‍यो, बस्यो ।
यसैगरी त्यो हुर्कंदै गयो । त्यसको विपन्नता अनौठो पनि थियो, एक प्रकारले । त्यसबखतसम्म त्यसका पिताले जिम्दारी किनेका थिए । त त्यो छनलाई ‘जिम्दारको छोरो’ थियो, त्यसकारण आफूलाई गरिब भन्न सक्दैन थियो । तर, घरभरि अभावैअभाव थियो, सम्पन्न त कहाँबाट हुन्थ्यो ? मध्यम वर्ग भनिन्छ चलनचल्तीमा । अहिले तिनीहरू मध्यम वर्ग नै हुन् । तर, त्यसबखत ? जिम्दारको छोरोलाई गरिबको छोरो भन्न आफ्नै मनले पनि मनाही गर्दथ्यो । पछि आफ्नो त्यस स्थितिलाई बुझाउन उसले एक ‘वातानुकूलित’ शब्द निर्माण गरेको थियो– ‘निम्नोन्मुख मध्यम वर्ग’ । अब यसलाई यति नै रहन दिऊँ, धेरै ‘आँसुमय’ बनाउनु उचित नहोला ।
ल ल ल
कालो बादलमा चाँदीको घेरा । जुन भनेका छन्— हुन सक्छ, त्यो घेराबाट उछिट्टिएर आएर चाँदीको केही टुक्राले त्योभित्र पनि आकार पाउन थालेको छ । त्यो शिशु अब एक ‘खिलन्दडा’
(खेलप्रेमी) बालक बनिसकेको थियो ।
ऊ यता वीरगन्जका स्टेजहरूमा गीत गाउन थालेको थियो । कविता कोर्न थालेको थियो । कविता त लेख्दथ्यो, तर रुचि त्यसको गायनमै थियो । वीरगन्जका स्टेजमा गाउनुअघि नै ऊ वरपर गाउँथ्यो । स्टेजमा गाउन थालेपछि वीरगन्ज नगरवासीले त्यसलाई चिन्न थाले । त्यसका कति जना प्रशंसक पनि बनेका थिए, जो झुमीझुमी गाउने त्यसको गीत सुन्न भनेरै पनि जान्थे रे, यस्तो सुनिएको थियो । तैपनि कविता लेख्थ्यो, नेपाली र हिन्दीमा पनि । एक जमाना त यस्तो आयो, त्यो बालक ‘धूवाँधार’ कविता लेख्न थाल्यो । तर, लक्ष्य भने उसको गायक बन्ने नै थियो ।
वीरगन्जका स्टेजमा त्यस बखत हिन्दी नाटक र फिल्मी गीत नै चल्दथ्यो । त त्यो नि हिन्दी गीत नै गाउँदथ्यो । कहिले एक्लै, कहिले डुएट । डुएटमा त्यसको साथी हुन्थ्यो— सुपेन्द्रबहादुर श्रेष्ठ ।
त्यसबखत रफीको ‘बोलवाला’ थियो । सुपेन्द्रका दाइ थिए, झुलेन्द्रबहादुर श्रेष्ठ । उनी रफीका भक्त र रफीका गीत राम्रो गाउँथे । त त्यो पनि झुल्दाइ अर्थात् झुलेन्द्रबहादुरलाई आफ्नो आदर्श मान्न थाल्यो । त्यो पनि रफीकै फ्यान बन्यो । एकजना विश्वनाथ दाइले त आफ्नो नाउँ नै राखेका थिए— विश्वनाथ ‘रफी’ ।
तर, यी सब गरिबी छेक्ने वा भुल्ने मनोवैज्ञानिक क्रियाकलाप पनि होलान् ।
‘रहने को घर नहीँ है, सारा जहाँ हमारा...’, साहिरको यो लाइन उसलाई खुबै मन पर्थ्यो । अर्को इन्दीवरको ः
जिस देश का बचपन भूखा हो,
फिर उसकी जवानी क्या होगी ।
यी पंक्तिहरू त्यसलाई आफूमाथि पनि ‘फिट एन्ड फाइन’ बसेजस्तो लाग्दथ्यो ।
त्यो बालक बनिसकेको शिशु, आफ्नो एक काँधमा अभाव छ, अर्को काँधमा तिनै चाँदीका कण बोकेर जन्मेको हुँदो हो— दन्त्यकथाको एक काँधमा सूर्य र अर्को काँधमा चन्द्र बोकेर जन्मिने बालकजस्तो । त्यसको हकमा चाँदीको कण चन्द्र थिए, अभाव सूर्य । यसकारण भन्छ कि त्यो ताप दिने ‘मार्तण्ड’ थियो ।
यसैगरी लड्दैपड्दै, पछारिँदै, उभिँदै अनेक यत्नले त्यसले एसएलसी पास गर्‍यो ।
त्यो फेल भयो एक पटक, तर त्यसको वर्ष खेर गएन । ‘सप्लिमेन्टी’ हुन्थ्यो । त्यसबाट छिर्‍यो । तबसम्म त्यसको परिचय टाल्सटायको ‘द थ्री क्वेस्चन्स’ सँग भइसकेको थियो । त्यस्तै केही विदेशी साहित्यिक रचनाहरू ‘लभिङ ब्याले अफ लर्ड ब्याटम्यान’, ‘कासा बियाङ्का’ आदिसँग ।
आईएमा आएपछि त्यसले विश्व–साहित्य अझ बढी पढ्न पायो, हिन्दी अनुवादसहित— अस्कर वाइल्ड, मार्क ट्वेन, सेर्वान्टे आदि । केही व्यंग्यात्मक कवितासँग परिचय भयो, मौलिक रूपमा अंग्रेजीमा जस्तो ‘क्रसिङ द रोड विदाउट ड्यु केयर, अ फक्स एट द प्वाइन्ट अफ डेथ’ आदि । केही मार्मिक कविता पनि थिए । सात क्लासमै ‘ब्लाइन्ड ब्वाय’ भन्ने एक कविता थियो, जुन पढेर भाव बुझेपछि त्यो रोएको थियो । कविताको त्यो अन्धो केटो पनि लगभग त्यसकै उमेरको थियो ।
नौ कक्षामा ‘थ्री क्वेस्चन्स’ टल्सटोयको सम्भवतः त्यसले पढेको पहिलो अंग्रेजी कथा थियो । आफ्नो सम्पूर्ण स्कुले जीवनमा त्यसले घोकेर कण्ठ गरेको त्यही एउटा कथाको समरी थियो ः
‘इन अर्डर टु गेट द करेक्ट आन्सर, द किङ वेन्ट बट द हर्मिट ।’
यो पनि अरू कुनै साथी सम्भवतः उत्तम सागरले तयार गरेको नोटबाट सारेको थियो ।
यसैगरी लस्टम–पस्टम, अष्टम, नवम्–दशम् अति कष्टम गर्दै त्यो एसएलसी पास गर्न सफल भएको थियो ।
यसबीचमा त्यसभित्र केही अरू कुराले जन्म लिएका थिए । त्यो गीत गाउन थाल्यो, त्रिजुद्ध स्कुलका स्टेजमा र अन्त पनि । त्यो कविता लेख्न थाल्यो, लगातार । तर, स्कुल अवधिभरि उसको प्रथम रुचि भने गायन नै थियो । त्यसको जीवनको उद्देश्य नै गायक बन्नु थियो, कवि होइन । कथा–लेखन त अहिले कहाँ थियो कहाँ ?
ल ल ल
सिलेबसका पुस्तक त्यसलाई हेर्न मन लाग्दैन थियो भने, ‘आउट बुक’ का कथा, उपन्यास त्यो आधा–आधा रातसम्म पढेर पनि भ्याउँथ्यो । फुटपाथमा बेच्न राखेका कति किताब त त्यसले फुटपाथमै उभिएर सिध्याएको पनि छ । कहिलेकाहीँ बुक सेलरको गाली पनि खाएको छ । ‘भगवे कि ना’, ‘हेतिभर के लइका’, ‘खडेखडी सब किताब पढलोइन’...। तर, भोलिपल्ट त्यो ‘लइका’ फेरि बिहानैदेखि त्यो एक मात्र फुटपाथ बुक सेलरको ‘बेसब्रीेसे इन्तजार’ गरिरहेको हुन्थ्यो ।
उसकहाँ किताब हुन्थे, किस्सा तोता–मैना, गुलेवकावली आदि । भोलिपल्ट त्यसले बिर्सन्थ्यो कि अति दयालु हुन्थ्यो, त्यो पनि झपार्दैन थियो । अझ पछि त्यो ‘चन्द्रकान्ता सन्तति’ मा यस्तो लठ्ठिन्थ्यो कि एउटा पातलो पुस्तक सक्नासाथ अर्को पढ्ने छटपटी हुन्थ्यो । त्यसपछि जासुसी दुनियाँ, बहराम डाकु, नकबपोश भेदिया आदिको दौड आयो । ओहो यी किताबहरू पढ्दा संसार बिर्सिन्थ्यो, साथीभाइ बिर्सिन्थ्यो, जाँच बिर्सिन्थ्यो । जाँचको समयमा कोर्सबुक मुन्तिर ‘साढे तीन यार’ राखेर पढेको, समातिँदा कहिलेकाहीँ अभिभावकबाट गाली खाएको सब अहिले त्यसलाई स्वप्नवत् प्रतीत हुन्छ । त्यो आफ्नो रोग–भोक–शोक सब बिर्सिन्थ्यो । त्यसपछि उसले रवीन्द्रनाथ, शरत्चन्द्र, वंकिमचन्द्र र प्रेमचन्द— यी ठूला साहित्यकार पढ्यो । बडो रुचिले । ‘अपनी छाया’ जुन अस्करवाइल्डको ‘पिक्चर अफ डोरियन ग्रे’ को अनुवाद थियो, ‘यौवन की अन्धी’ अन्य लेखकको अनुवाद । यशपाल, किसन चन्दर, जैनेन्द्रकुमार यी सब स्कुल जीवनका पुस्तक हुन् । त्यो त ऊ मान्छ पनि, यी उपलब्धि नै हुन् ।
त्यसको अर्को प्रेम सिनेमा थियो । छ आनाको क्लासमा हेर्न पैसा जुटाउन अनेक गर्थ्यो । तर हो, सिनेमा हेर्दा त्यो हलमा मुग्ध भावले बसिरहन्थ्यो ।
बालपत्रिका ‘चन्दा मामा’ त्यसको सबभन्दा प्रिय पत्रिका थियो । पछि ‘पाटल’, ‘माया’, ‘मनोहर कहानियाँ’, ‘धर्मयुग’, ‘कल्पना’ अनि ‘फिल्म फेयर’ र अन्य फिल्मी पत्रिका, हिन्दी–अंग्रेजी उसको पठनमा सामेल भए ।
अहिले हेर्दा भन्न सकिन्छ— सम्भवतः त्यो आफ्नो परिचयबाट पौडी खेलेर अर्को तटमा पुग्थ्यो, ती पत्रिका पढ्दा ।
भूतप्रेत सब त्यसलाई डराउँथे । त्यसका लागि ‘हनुमानचालीसा’ कण्ठ पारेको थियो । भूत–आशंकित गल्लीहरूमा कराईकराई हनुमानचालीसा पाठ गर्दै हिँड्थ्यो । त्यही डरले हो वा एउटा विद्या नै हो भनेर त्यो तन्त्र–मन्त्र जादुगरीमा विश्वस्त थियो । तासको जादुदेखि इन्द्रजालसम्म त्यो सिक्न चाहन्थ्यो । त्यसले अनेक प्रयास त्यता पनि नगरेको होइन । तर, त्यसले जादु, इन्द्रजाल त सिकेन, पढाइमा भने त्यो भयानक किसिमले पछि पर्दै गयो ।
त्यसलाई उद्धार गर्‍यो— त्यसको कल्पनाशीलताले, जुन फेरि तिनै डुबाउने भनिएका ‘आउट बुक’ हरूले नै तिखारेका थिए ।
भोक–रोग–शोकको कुरा अब छाडिदिऊँ । यति भनूँ, ती आउनसम्म आएका छन् । तिनैबीच हुर्केको थियो त्यो शिशु । एकपटक त्यसले आफ्नो एक पुस्तकमा आफ्नो गरिबीको बयान गरेको थियो । एक लेखकको प्रतिक्रिया थियो— ‘आत्म–करुणाको प्रदर्शन’ । तर, अन्त्यमा फुर्को लगायो, अरूले भनेको कुरा दाइ ।
त्यसबेलादेखि त्यो आफ्नो कुनै पुस्तक कसैलाई दिन हच्किन्छ । राम्रा केही लेखक यति कल्पनाशील छन् कि कसैको गरिबीलाई विज्ञापन ठानिदिन सक्छन्, के लाग्छ ? यस जगत्का खुबीहरू अनन्त छन् । अहिलेलाई यति नै ।
‘जुनेली पुस्तकालय’ तिनीहरूले नै कुम्हालटोलमा खोलेको पुस्तकालय थियो । पछि अन्य समर्थकहरू पनि आए त्यसमा । त्यो पुस्तकालय निकै समयसम्म एक जगमगाउँदो पुस्तकालय थियो । त्यहाँबाट पनि त्यसले धेरै लाभ लिएको छ ।
वीरगन्जमा आधा दर्जन यताउता पुस्तकालय थिए । माध्यमिक कक्षाहरूमा पढ्दा, त्यसले एउटा विषय लिएको थियो— सिभिक्स, नागरिकशास्त्र । त्यो जिज्ञासु निकै थियो । त्यसकारण उदाहरणका लागि त्यही ‘सिभिक्स’ पनि कुन लेखकले कसरी लेख्यो भनेर जान्न पुस्तकालयहरू चहारिरहन्थ्यो । त्यसले सिक्न अर्थात् एक विषयलाई अन्य प्रकारले पनि लेख्न सकिन्छ भन्ने ज्ञान त दियो नै ।
आफ्नो स्कुल–जीवनसम्ममा त्रिजुद्धका स्टेज शोमा गाएका कारण ऊ वीरगन्जमा लोकप्रिय पनि भएको थियो । विज्ञ सर्कलमा त्यसका कविताका प्रोत्साहक पनि बढ्दै गए । मथुरामान सिं, भोला पराजुली, पशुपतिनाथ घोष, भीम विराग आदि त्यसका प्रेरक थिए । शैलेन्द्रकुमार दाइका साथी हुनाले त्यसका गीत र कविताका श्रोता–अनुरागी थिए । उनी विशेष रूपमा प्रशंसक थिए त्यसका ।
धनुष, गोपाल, ईश्वर त्यसका दाइहरू थिए, जसको अभिभावकत्वमा खासगरी प्राज्ञिक र आर्थिक पनि, त्यो हुर्केको थियो । त्यसका पितामा पनि लेख्ने हृदय थियो, तर लेखेको भने एउटै कविता त्यसले देखेको थिएन ।
२०१९ को अन्त्यतिर एकपटक भूपि आएर एक होटल ‘हिमालय’ मा बसे । भूपि कविका रूपमा चर्चित भइसकेका थिए । त्यसले पनि आफ्ना कविताहरू सुनायो । भूपि प्रभावितजस्ता देखिए । उनले त्यसले लेखेको एक कविता छाप्न ‘रूप–रेखा’ पत्रिकाका एक सम्पादक उत्तम कुँवरका नाउँमा चिठी लेखिदिए, सिफारिसकै भनूँ— ‘वीरगन्जको एक युवा तर प्रतिभाशाली कवि...’ थालनी यस्तै थियो ।
२०२० वैशाख १ गते ‘रूप–रेखा’ को कविता विशेषांकमा नेपालीमा उसको त्यो कविता प्रथम प्रकाशित रचना थियो । त्यसको शीर्षक थियो, ‘तटस्थता ः असफलता ।’ कविता कति मन पराए पारखीहरूले, ज्ञान भएन तर जगदीशशमशेर राणाले अर्को अंकमा समीक्षा गर्दा, त्यस कविताको पनि उल्लेख गरेका थिए । त्यो कविलाई त्यति नै काफी थियो ।
त्यसैको केही महिनापछि ‘रूप–रेखा’ मा केही अन्य कविता पनि छापिएपछि, एउटा कथा ‘रूप–रेखा’ मै प्रकाशित भयो— ‘एक यात्रानुभूति’ ।
ऊ वीरगन्जमा गायकका रूपमा चिनिएको थियो । काठमाडौंमा कविका रूपमा अलिअलि चिनिन थाल्दै थियो । अब कथाकारको रूप पनि थपियो । परिणाम के भयो ? क्रमशः सार्वजनिक रूपमा गायन छुट्दै गयो । अब कवि थियो त्यो । कथा लेख्न थालेपछि कथाकारले कविलाई छेक्न थाल्यो होइन, छेक्दै गयो । र, अहिले कथाभन्दा पनि त्यसलाई उपन्यासले अन्त नजा भनेर समाइरहेको छ । गीत ऊ गाउँथ्यो मात्र होइन, लेख्थ्यो पनि । त्यसबाट पुरस्कृत पनि भएको छ । एक पटक त एक खास पुरस्कारबाट पुरस्कृत भएपछि वीरगन्जभरि त्यसको नाउँ त भाइरल भएको थियो, रातारात ।
अरू सारा नातेदार खुसी त भए । त्यसका पितालाई यो खबर सुनाइयो, सुनेर भावुक भए र भावुक बोलीमै भने— ‘त्यो अझ खाटमा जन्मेको भए...।’
पिताको भावुकता सुनेर फेरि त्यो पुत्र धेरैबेर भावुक भएको थियो । खैर ! खाट र जमिनको अन्तर त त्यो मान्दैन, तर पिता मात्रले त्यो घटना (खाटको) सम्झेको भने, त्यसलाई सधैं याद रहनेछ, पिताको स्नेहका रूपमा ।
स्कुलमा युनिफर्म लगाउने चलन थिएन । त्यो एउटा खाकीको कट्टु र एउटै कमिजले महिना–दुई महिना काटिदिन्थ्यो । त्यही लुगा लगाएर खेल्थ्यो, सुत्थ्यो, भोलिपल्ट नांगै खुट्टा स्कुल जान्थ्यो । धेरैजसो यस्तै हुन्थ्यो । कहिलेकाहीँ दसैंको आसपास नयाँ लुगा र बीएससी वा सीएसएका कपडाका जुत्ता र नयाँ लुगा लगाएर कपाल सोरेर ठाँटिएर पनि जान्थ्यो । तर, धेरैजसो खाली खुट्टा, हवादार नै हिँड्न मन पराउँथ्यो ।
धेरै पछि, त्रिविमा पढाउँदा एक पटक त्यसको खुट्टाको एक औंला जखमी भयो । जुत्ता लगाउन नमिल्ने भयो । त्यो बूढी औंलामा पट्टी बाँधेर एमएका क्लासहरूमा पढाउन जान्थ्यो । त्यसलाई पनि खुट्टा जुत्तामा कोचेर जानुभन्दा हवाइचप्पलमा खुट्टा हुलेर हिँड्न सजिलो लाग्थ्यो । पछि घाउ त निको भयो, तर धेरै दिनसम्म त्यो आफ्नो औंलामा पट्टी बाँधेर चप्पल लगाएरै क्लास लिइरह्यो । रमाइलो लाग्थ्यो । हवाइचप्पल लगाएर एमएका कक्षाहरूमा गएर, ‘देवकोटाको शाकुन्तलमा दार्शनिक पक्ष’ बारे लेक्चर दिन र आफ्ना खुट्टाहरूलाई ‘शु–फ्री डाइट’ दिन । यो ट्रिक कसैलाई थाहा भएन, जबसम्म त्यसैले पछि कुनै लेखमा लेखेन । कति थाहा नभएकाहरूले अब यसबाट थाहा पाउनेछन् ।
ल ल ल
यस्तोयस्तो ‘लथालिङ्गी’ व्यक्तित्व भए पनि त्यो आफ्नो पेसा र लेखनप्रति इमानदार थियो । विद्यार्थीहरू त्यसलाई मन पराउँथे । पुनामा भाषा–विज्ञानमा डक्टरेट गर्दा, त्यसका धेरै साथीहरू बने ।
आज ऊ आफ्ना बाल्यकाल र प्रौढकालका ती साथीहरूलाई सम्झिरहेको छ । सम्बन्धहरूलाई सम्झिरहेको छ । धेरै सम्बन्ध र साथीहरू कोही टुटे, कोही छुटे, कोही ‘एकोडहम् द्वितियो नास्ति’ भनिरहेका छन् । यिनमा स्कुल–कलेज र साहित्यका साथी पनि छन् । भएका र गएका मित्र पनि छन् । आज सबलाई सम्झिरहेको छ ।
प्रिय पाठक,
जुन शिशुको कथा मैले थालनीमा सुनाएको थिएँ, तपाईंको हातमा यो ‘कान्तिपुर’ को ‘कोसेली’ पुग्दा त्यो ७९ वर्ष काटेर असियौं वर्षमा प्रवेश गरिसकेको हुनेछ । त्यो शिशु, हुन त अनुमान गरिसक्नुभएको होला, मै हुँ, जसको न्वारनको नाउँ जेसुकै भए पनि ध्रुवचन्द्र गौतमका रूपमा चिनिन्छ, त्यो शिशु मै हुँ ।
प्रिय पाठक,
त्यो शिशुको जीवन भनेको मेरै जीवन हो । जीवनमा संघर्षको अन्त्य हुँदैन । तर, पनि केहीले स्नेह गर्दछन्, केही पाठक मेरा छन्, धेरै नभए पनि ।
गोविन्दचन्द्र र दीपवतीका सन्तान हौं हामी । गोविन्दचन्द्रका धेरै सन्तान विभिन्न पेसामा लागे । म शिक्षणतिर लागेँ । मूल रूपमा आफूलाई लेखनमै ढालेँ, उकाली–ओराली गर्दै यहाँसम्म आइपुगेको छु । जीवन–मरणका कुरा त प्रकृति हुन्, त्यसलाई सोचिन्न कसरी भनूँ ? तर, सय–दुई सय मेरो संकलनमा होलान्, ती पढ्न कतिको भ्याइन्छ ? मनमा केही थिमहरू बाँकी छन्, ती लेख्न भ्याइन्छ कि भ्याइन्न ? यी प्रश्न पनि कमजोर रूपमा उठ्दैनन् ।
पुरस्कार–सम्मान पनि पाएकै छु, जीवनमा । मबारे पुस्तक लेखिएका–लेखिँदै छन्, विद्यावारिधि गरिँदै छन् । कति सहृदयी संस्थाहरू छन्, जसले वीरगन्ज, अन्त र यहाँ पनि अभिनन्दन गरेकै छन् । केही समयपछि मजस्तै मेरो लेखन–यात्रा पनि सात दशक पुगेर आठौंमा प्रवेश गर्नेछ । मसी सुकेको छैन, म थाके पनि कलम थाक्न मानेको छैन । मेरो ८० वर्षे प्रवेशमा ‘आविष्कारी आख्यानका दशकहरू’ कृति आउने भएको छ, यसमा सम्पादक छन्– खुमनारायण पौडेल र इशान गौतम ।
यसरी एक लेखक जन्मँदा जसले एउटा ‘खाट’ पाएको थिएन, तैपनि यति सम्मान पाइरहेको छ भने अरू के चाहियो ? तर, मान्छे आफू जत्रो भए पनि उसका चाहनाहरू अनन्त हुन्छन् । झन् लेखकका चाहनाका त के कुरा गर्नु ?
जति लेखे पनि लेख्न बाँकी रहन्छ । अहिल्यै भनिहालौं— मान्छे जान्छ, तर लेखक बाँकी रहन्छ । म जानेछु तर, मेरा लिखित–अलिखित कुराहरू रहिरहनेछन् ।

Page 10
कोसेली

कथा सर्वेक्षण

- शार्दूल भट्टराई


कतिलाई लाग्छ, लेखक भनेको सम्पादक पनि हो । लेखकहरू नै कतिपय पुस्तक र पत्रपत्रिकाका सम्पादक हुने गरेका कारण पनि त्यस्तो लाग्न सक्छ । लेखन र सम्पादन उस्तैउस्तै लागे पनि, अथवा यी दुईलाई अन्तर्सम्बन्धित मानिए पनि, कार्यकौशलका दृष्टिले यी दुई फरक विषय हुन् । लेखनकला र सम्पादनकलाका आ–आफ्नै चरित्र छन् । कुनै सम्पादक लेखक पनि हुनसक्छ, तर कुनै लेखक सम्पादनकलामा पनि निपुण हुन्छ भन्ने छैन । कोही लेखक हुँदैमा ऊ सम्पादक हुने हैसियत राख्छ भन्ने पनि छैन किनभने कतिपय दिग्गज लेखकका सम्पादनमा निस्किएका पुस्तक/पत्रिकाको दुर्गति पनि देखिएकै छ । केही यस्ता पनि छन्, जो राम्रा लेखक भईकन सम्पादनकलामा पनि कुशल छन् ।
लेखक अविनाश श्रेष्ठ आफैंमा राम्रा सम्पादक पनि हुन् । सम्पादनमा उनले आफ्नो कलाकौशलको प्रदर्शन धेरै अगाडिदेखि गर्दै आएका छन् । झन्डै तीस वर्षअघि उनले सम्पादन गरेको ‘समकालीन साहित्य’ र दस वर्षअघि सम्पादन गरेको ‘गरिमा’ लाई अहिले पनि धेरैले सम्झिरहेका छन् । ती साहित्यिक पत्रिकाका अतिरिक्त उनले साहित्यिक पुस्तकहरू पनि सम्पादन गरेका छन्, जुन सम्पादन कौशलका दृष्टिले उदाहरणीय छन् । उनको सम्पादनकलाको एउटा उदाहरण हो– ‘आधुनिक भारतीय नेपाली कथा’ । सोह्र वर्षअघि साझा प्रकाशनबाट प्रकाशित यस पुस्तकको परिवर्द्धित दोस्रो संस्करण यतिवेला बुक हिल प्रकाशन संस्थाबाट प्रकाशित भएको छ ।
यो पुस्तक मूलतः आधुनिक भारतीय नेपाली कथाका प्रतिनिधि कथाहरूको सङ्ग्रह हो, तर कथाहरूको सङ्कलनका रूपमा मात्रै यो पुस्तक सीमित छैन । यसमा भारतीय नेपाली कथालेखनको विस्तृत र गहन अध्ययनसमेत गरिएको छ । कथाहरू सङ्गृहीत गरेर सामान्य भूमिका लेख्दैमा पनि सम्पादकको दायित्व पूरा हुन सक्थ्यो, तर सम्पादकले यसमा अतिरिक्त बौद्धिक योगदान गरेका छन् । आधुनिक भारतीय नेपाली कथाको लेखन, त्यसको विकास, परम्परा र प्रवृत्तिको प्राज्ञिक विवेचनाका दृष्टिले पुस्तकलाई सार्थक उपलब्धि मान्नुपर्छ ।
पुस्तकका सम्पादक भारतीय नेपाली साहित्यमा समेत सुपरिचित छन् । आफ्नो सिर्जना र सम्पादनको आरम्भदेखि अहिलेसम्म उनले त्यहाँको लेखनसँग घनिष्ठता राख्दै आएका छन् । त्यसैले उनी भारतीय नेपाली साहित्यको अध्ययनमा आधिकारिक लेखक मानिन्छन् । यस अर्थमा यस पुस्तकको लेखन उनका लागि तुलनात्मक रूपमा सहज बनेको पनि हुन सक्छ । तथापि, उनले अनवरत अध्ययन र अनुसन्धानबाट यो कृति तयार गरेको बताएका छन् । सम्पादनका सिलसिलामा उनले गरेको शोध र बौद्धिक श्रमलाई उनकै सम्पादकीय अभिव्यक्तिबाट पनि अनुभव गर्न सकिन्छ । साहित्यिक पत्रिकाको सम्पादनमा रणनीति, दृष्टिभङ्गी, समयचेतना र प्रस्तुतिकौशलको नियोजित भूमिकाको आग्रह राख्ने अविनाश श्रेष्ठ यस पुस्तकको सम्पादनका क्रममा पनि आफ्नो प्रवीणताप्रति प्रतिबद्ध देखिएका छन् । पुस्तकलाई जतिसक्दो स्तरीय बनाउने उद्देश्यले उनले चयन गरेका कथाकार, तिनका कथाहरू र कथामाथिका उनका टिप्पणीहरूबाट पनि त्यस कुराको बोध हुन्छ ।
‘आधुनिक भारतीय नेपाली कथा’ को सम्पादकीय पाटोको रूपमा प्राचीन कथादेखि आधुनिक कथाको जन्मसम्मको चर्चा गरिएको छ । सम्पादकले ऋग्वेदमा पाइने कथाका सूत्रहरूको मात्र चर्चा गरेका छैनन्, वेदहरूमार्फत प्रकट भएका ज्ञान, विज्ञान, चेतना, प्रज्ञा र मेघाको प्रकाशमा पूर्णविकसित कथाहरूको आरम्भ भएको व्याख्या पनि गरेका छन् । सम्पादकले ब्राह्मणग्रन्थ र उपनिषद्हरूलाई पूर्णविकसित कथास्वरूपका बीज मानेका छन् । उनले विभिन्न ठाउँ र भाषाका माध्यमबाट विकास भएका कथाहरूबारे समेत सटीक विवेचना गरेका छन् । अरबी–फारसी भाषाबाट आएका कथा, अङ्ग्रेजी भाषाको माध्यमबाट आएका प्राचीन युरोपेली कथा, युरोपमा औद्योगिक क्रान्ति एवम् नववैचारिक आन्दोलनपछि भएको नयाँ कथाको प्रारम्भको चर्चालाई पनि पुस्तकमा महत्वका साथ समेटिएको छ ।
‘आधुनिक भारतीय नेपाली कथा परम्परागत वा परिपाटीबद्ध लेखनशैलीबाट धेरै हदसम्म मुक्त भइसकेको’ विचार सम्पादकको छ । सम्पादकको अध्ययन–अनुसन्धानबाट कथालेखनमा नयाँ प्रयोगले प्रवेश पाए पनि प्रयोगशीलतालाई आत्मसात् गरेर कथामा नयाँ मोड दिने दिशामा समर्पित कथाकार भने नगण्य रहेको निष्कर्ष निकालिएको छ । सम्पादकले भारतीय नेपाली साहित्यमा देखिएको जातीयतावादी चेतनाको विवेचनालाई तथ्य र सन्दर्भसहित प्रस्तुत गरेका छन् । परम्परागत लेखन, नयाँ प्रयोग र नवचेतनाका सन्दर्भमा पनि पुस्तकमा चर्चा गरिएको छ । नेपाली कथाको इतिहासलाई केलाउने क्रममा काल विभाजनअनुसार कथा विकासको विवेचना गर्दै तिनका केही धाराहरूको विश्लेषण गर्ने कामसमेत सम्पादकले गरेका छन् ।
सम्पादकले आधुनिक भारतीय नेपाली कथाहरूको व्यापक र गम्भीर सर्वेक्षणपछि प्रतिनिधि कथाहरूको चयन गरेका छन् । हरेक कथाको विवेचनाका साथ समग्रतामा आधुनिक भारतीय नेपाली कथाको मूल्यनिरुपण गर्ने काम पुस्तकमा गरिएको छ । सम्पादकले जे गरेका छन्, त्यो निर्भीक भएर गरेका छन् । यति विघ्न जोखिमको कामलाई उनले निर्विवाद सम्पन्न गरेका छन् । यो पनि उनको सम्पादन क्षमताकै प्रतिफलजस्तो लाग्छ । भन्न त सम्पादकले ‘आफ्ना कुरा’ मा ‘खरायोको सिकारको सामल बोकेर बाघको सिकार गर्न हिँडेको रहेछु’ भनेका छन् । सम्पादकले सामल जेजस्तो बोकेर हिँडे पनि अन्तिममा सिकार भने बाघकै गरेका छन् । नेपालको त्रिभुवन विश्वविद्यालय र भारतको उत्तरबङ्ग विश्वविद्यालयले पन्ध्र वर्षअघि नै स्नातक र स्नातकोत्तरतहको सन्दर्भग्रन्थका रूपमा यस पुस्तकलाई समावेश गरेको यथार्थबाट पनि यसको सामयिक महत्त्वलाई बुझ्न सकिन्छ ।
आधुनिक भारतीय नेपाली कथालेखनले अहिलेसम्म एक सय वर्ष पनि पार नगरेको मानिन्छ । यद्यपि, भारतीय नेपाली लेखकहरू भारतका अनेकन् राज्य वा ठाउँमा छरिएर रहेका र तिनले आफ्नो लेखनलाई अगाडि बढाइरहेका देखिन्छन् । भारतीय नेपाली साहित्यका उर्वरभूमि मानिएका असम, मणिपुर, मेघालय, नागाल्यान्ड, मिजोरम, त्रिपुरा, अरुणाचल, सिक्किम, डुवर्स, दार्जिलिङ मात्र होइन, बनारस, देहरादून, कलकत्ता, गोरखपुर, सिमला, दिल्ली, पटना आदि ठाउँमा समेत नेपालीभाषी लेखकहरू सक्रिय रहेका पाइन्छन्, तर यस पुस्तकमा असम, मेघालय, सिक्किम, दार्जिलिङ, बनारस, नागाल्यान्ड र डुवर्सका कथाकारहरू मात्र समेटिएका छन् । ती ठाउँका प्रतिनिधिमूलक ४४ जना कथाकारका एक–एकवटा कथा यसमा सङ्गृहीत छन् ।
पुस्तकमा दार्जिलिङका इन्द्रबहादुर राई, अच्छा राई ‘रसिक’, लख्खीदेवी सुन्दास, असमका लीलबहादुर क्षत्री, हरिभक्त कटुवाल, डुवर्सका किताबसिंह राई, नागाल्यान्डका हरिप्रसाद ‘गोर्खा’ राई, मेघालयका भोलानाथ गुरुङ, बाराणसीका दुर्गाप्रसाद श्रेष्ठ, सिक्किमका सानु लामालगायतका कथाहरू समेटिएका छन् । पुस्तकमा सबैभन्दा बढी दार्जिलिङका कथाकारहरू छन् । छब्बीस जना कथाकारहरू दार्जिलिङकै छन् । असमका नौ जना कथाकारहरू सम्पादकको चयनमा परेका छन् । सिक्किमका तीन जना छन् भने डुवर्स र मेघालयका दुई–दुई जना कथाकारहरूलाई समावेश गरिएको छ । नागाल्यान्ड र बनारसका एक–एक जना कथाकार समेटिएका छन् ।
पुस्तकमा समेटिएका कथाहरूको स्तर भने समान छैन । कृतिमा कतिपय राम्रा र स्तरीय कथाहरू छन् भने केही सामान्य कथाहरू पनि छन् । सम्पादकले सकेसम्म राम्रा र स्तरीय कथालाई समेट्न खोजे पनि स्थान वा क्षेत्रविशेषको प्रतिनिधित्वका दृष्टिले राख्नैपर्ने भएकाले पनि होला केही सामान्य कथा पनि यस कृतिमा परेका छन् । नेपालमा समेत चर्चा र प्रसिद्धि पाएका इन्द्रबहादुर राई, लीलबहादुर क्षत्री, हरिभक्त कटुवाल, शिवकुमार राईजस्ताको चर्चा नगरौँ, त्यस्तो चर्चा र प्रसिद्धि नपाएका अरू कतिपय कथाकारका कथा पनि चर्चायोग्य देखिन्छन् । जस्तै– दार्जिलिङका नन्द हाङ्खिमको ‘छिन्जु–लमू’, वीरविक्रम गुरुङको ‘जोइटिङ्ग्रे’, कृष्णसिंह मोक्तानको ‘अज्ञात वीर’, एम.एम. गुरुङको ‘जार’, इन्द्र सुन्दासको ‘ऐते पाइलट’, डुवर्सका किरात (हायमनदास) को ‘लोग्नेको रहर’, किताबसिंह राईको ‘पहेँलो गुलाबको फूल’, असमका विष्णुलाल उपाध्यायको ‘त्यो अविस्मरणीय दिन’, लोकनाथ उपाध्याय चापागाईंको ‘साइत’, पदम ढकालको ‘यहाँ राजा को ? शासन कसको ?’ दुर्वासा उपाध्यायको ‘रित्तो काख’, टङ्कनाथ उपाध्यायको ‘पुड्के हवलदार’, सिक्किमका सानु लामाको ‘अपराजिता’, पूर्ण राईको ‘पासाङहरूको कथा’ जस्ता राम्रा कथाहरू पुस्तकमा छन् । पुस्तकमा समेटिएका कथाहरूमध्ये कतिपयले भारतीय नेपालीकै कथाव्यथालाई समेटेका छन् । भारतमा रहेका नेपालीहरूको अवस्था, जीवनसङ्घर्ष र नेपाली समुदायको आन्दोलनलाई पनि कथाहरूमा विषयवस्तु बनाइएको छ ।
आधुनिक भारतीय नेपाली कथालेखनलाई सम्पादकले तीन चरणमा विभाजन गरेर अध्ययन गरेका छन् । सन् १९४० बाट आधुनिक भारतीय नेपाली कथालेखनको पहिलो चरण आरम्भ भएको तथ्य सम्पादकले प्रस्तुत गरेका छन् । कथालेखनको औपचारिकता पत्रिकाको प्रकाशनबाट भएको तथ्य प्रस्तुत गर्दै सम्पादकले त्यसपछिको दस वर्षको अवधिलाई ‘रूपनारायण सिंह युग’ बताएका छन् । कथालेखनको दोस्रो चरणलाई ‘इन्द्र सुन्दास–शिवकुमार राई युग’ मानिएको छ । तेस्रो चरणलाई ‘प्रयोग तथा नववैचारिकताको युग’ भनिएको छ । भारतीय नेपाली कथामा आधुनिकतालाई भित्र्याउनेमा रूपनारायण सिंहसँगै इन्द्र सुन्दास, शिवकुमार राईजस्ता कथाकारहरूको योगदान रहे पनि अहिले आधुनिक भारतीय नेपाली कथालेखनमा असङ्ख्य कथाकारहरूको उदय भएको चर्चा पुस्तकमा गरिएको छ । कथालेखनको विकासक्रमको उल्लेख गर्ने सिलसिलामा सम्पादकले स्थापित र उदीयमान, पुराना र नयाँ दुवै पुस्ताको महत्त्वका साथ चर्चा गरेका छन् । पुस्तकमा समेटिएका कथाकारहरूको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ । यसले सम्पादकको अध्ययन–अनुसन्धानलाई आधिकारिक, प्रामाणिक र तथ्यपूर्ण बनाएको छ ।
विभिन्न लेखकबाट नेपाली साहित्यको इतिहास लेखिएको छ । कतिले आफूले लेखेको इतिहास प्रामाणिक भएको दाबी गर्दै आएका पनि छन् । तथापि, अहिलेसम्म नेपाली साहित्यको प्रामाणिक इतिहास नलेखिएको साहित्यकै कतिपय गम्भीर अध्येताहरूको बुझाइ छ । यस स्थितिमा अविनाश श्रेष्ठद्वारा सम्पादित ‘आधुनिक भारतीय नेपाली कथा’ नेपाली साहित्यको प्रामाणिक इतिहास लेखनका लागि समेत सन्दर्भसामग्री बनेको छ । नेपाली साहित्य र भारतीय नेपाली साहित्यलाई जोड्ने कुरामा यस पुस्तकले महत्त्वपूर्ण स्थान राख्छ । दुई देशको नेपाली साहित्यमात्र होइन, दुई देशका नेपालीभाषीको भावनालाई जोड्ने कामसमेत पुस्तकले गरेको छ । नेपाली कथा साहित्य र भारतीय नेपाली कथा साहित्यलाई जोडेर अध्ययन–विश्लेषण गर्न यो पुस्तक अपरिहार्य सन्दर्भग्रन्थ बनेको छ । विशेषगरी दुई देशका नेपालीभाषीको भाषा, भावना र साहित्यलाई जोड्ने सन्दर्भमा सम्पादक अविनाश श्रेष्ठको प्राज्ञिक भूमिका अर्थपूर्ण रहेको छ ।
भारतीय नेपाली कथाहरूको प्रतिनिधमूलक सङ्कलनका दृष्टिले यस किसिमको पुस्तक यसअघि प्रकाशित भएजस्तो लाग्दैन । सम्भवतः यो नै पहिलो यस्तो पुस्तक हो, जसले आधुनिक भारतीय नेपाली कथाको व्यापक अध्ययन मात्र गरेको छैन, ऐतिहासिक सर्वेक्षण नै प्रस्तुत गरेको छ । भारतीय नेपाली कथाहरूको अध्ययन, अनुशीलन र विमर्शका दृष्टिले पुस्तक सारगर्भित छ । विषयलाई व्यापक अर्थमा समेटेसँगै आकार–प्रकारमा समेत पुस्तक एउटा महत्त्वपूर्ण ग्रन्थको रूपमा रहेको छ ।

कोसेली

आरनमा जलिरहेको त्रिशूल

- रीना मोक्तान


एक बालक साथीसँग राति फलाम चोर्न निस्कन्छ । उसको नाम हो– भ्याल । निष्पट्ट अँध्यारोमा हातमा राँको बोकेर प्रत्येक घरका छत डुल्छन् उनीहरू । अनि काठका मूर्तिहरू (बाक्पा) का शिरमा गाडिएका त्रिशूल चोर्छन् चुपचाप । ती त्रिशूलबाट जसैगरी गाडी गुड्ने पाङ्ग्रा बनाउनु छ भ्याललाई । साथीहरूले खेल्न विद्यालयमा काठको बस बनाएका छन् । तर, बस गुड्ने पाङ्ग्रा नबनाए साथीहरूबाट दुर्व्यवहार (बुलिङ) सहनुपर्ने डर कोचाकोच छ भ्यालको मस्तिष्कमा । १२ वर्षकै उमेरमा गाउँका लोहकर्मी (फलामको काम गर्ने मानिस) बनेको भ्यालले फलाम जोहो गर्ने कुनै विकल्प भेटेन र त्रिशूल चोर्ने निर्णय गर्‍यो । चोरिएका त्रिशूललाई नयाँ स्वरूप दिन आरनको आगोमा पोलेर हथौडाले ठोक्दै छ– ट्वाङ–ट्वाङ !
माथिको वर्णित दृश्य हो– फिल्म ‘ह्वील्स अन द बस’ को ।
जात व्यवस्था हुर्काउने हिन्दु धर्मलाई हिर्काइएको यो बिम्ब कति शक्तिशाली ढंगले प्रस्तुत गरिएको छ भने यसले थुप्रै कुरा एकैसाथ बोल्छ । र, वर्ण व्यवस्थाको सामाजिक, राजनीतिक र आर्थिक प्रणालीलाई सशक्त ढंगले चित्रण गर्छ । उत्पीडनमा परेका दलितको अवस्था दर्शाउँछ । त्यो रापिएको फलाम एक बिम्ब हो हामी बाँचिरहेको समाजको । त्यो रापले बोलिरहेको छ– दलितमाथिको उत्पीडन र विभेदबारे । असलमा भ्यालहरू थिचिएका छन्, पिल्सिएका छन् वर्ण व्यवस्था, छुवाछूत र विभेदले । जात व्यवस्था संरक्षण गर्ने समाज, विचार, सिद्धान्त र संरचनालाई भ्यालहरू भत्काउन चाहन्छन् भन्ने उदाहरण पनि हो यो दृश्य । कला कति सशक्त हुन्छ भने बिनासंवाद केही नबोलेरै यो दृश्यले थुप्रै कुरा बोल्छ ।
सूर्य शाही निर्देशित १६ मिनेटको यो फिल्मले जात व्यवस्थाको उत्पीडनमा परेका पात्रको दुःख, संघर्ष र विद्रोहको कथा भन्छ । कथित तल्लो जातका पात्रले जातकै आधारमा सहनुपरेको विभेदको कथा भन्छ । सामाजिक, आर्थिक, राजनीतिक रूपले मान्छे कसरी दबिएका छन् ? कसरी पीँधमा परेका छन् ? भ्यालमार्फत फिल्मले देखाएको छ ।
‘माथिल्ला जातका’ बालबालिका घरमा अर्कै कपडा लगाउँछन्, स्कुलमा अर्कै । तर, भ्याल स्कुलकै नीलो सर्टमा भेटिन्छ हरदम– घर होस् या स्कुल । भ्याल बाँचिरहेको समाज र उसको परिवारको आर्थिक अवस्था देखाउन प्रयोग गरिएको नीलो सर्टको यो बिम्बले थुप्रै कुरा भन्छ । दृश्यहरूलाई खुबै चलाखीपूर्ण ढंगले खिचिएको छ– छुवाछूतको सामाजिक संरचना देखाउन । एउटा दृश्य छ, जहाँ भ्याल फलामको काम सकेर त्यो सामान फिर्ता गर्न छिमेकीको घर गएको छ । कथित माथिल्लो जातका पात्रहरू घरको माथिल्लो भागमा छन् भने भ्याल भुइँमा । फलामको बदला छिमेकीले अन्न दिन अह्राउँछ आफ्नो छोरालाई । ऊ भ्याललाई नछोई माथिबाटै अलग्गै झोलामा अन्न खन्याइदिन्छ । संवादबिनै यो दृश्यले छुवाछूत प्रस्ट्याउँछ । छिमेकीको छोरालाई अन्न दिँदै गरेको त्यो दृश्यले भन्छ– विभेद पुस्तान्तरण भइरहेको छ ।
व्यावसायिक फिल्मले दुई घण्टामा पनि समेट्न नसक्ने विभेदका फरक मुद्दालाई छोटो समयमै कसिलो दृश्यमा प्रस्तुत गर्न सक्नु निर्देशकको प्रशंसनीय पाटो हो । यस्तो जटिल विषयलाई मौलिक ढंगमा उत्कृष्ट रंगसंयोजन, खिचाइ र चरित्रमार्फत उभ्याउन सक्नु फिल्म ‘ह्वील्स अन द बस’ का बलिया पक्ष हुन् ।
समाजको कुरूप तस्बिर, उत्पीडित वर्गको यथार्थ चित्रण फिल्ममा देखिन्छ । फिल्ममा कथित उपल्लो जातलाई मात्रै दोषी देखाइएको छैन । भ्यालको एक विद्रोही साथीमार्फत कथामा सन्तुलन मिलाइएको छ । भ्यालको साथी लाबा समाजका ती हरेक विभेदका कडी भत्काउन चाहन्छ । ऊभित्रको विद्रोही स्वभाव देखाउन शिरमा उसले बाँधिहिँड्ने हँसिया–हथौडाअंकित रुमालै काफी छ । फिल्मले सरल भाषामा विभेदका फरक पक्षलाई मौलिक स्वादमा पस्केको छ ।
बालकथामै आधारित अर्को फिल्म ‘जुलुंगो’ को अन्तिम दृश्य पनि बेजोड छ । प्रमुख पात्र आफूले बनाएको ‘जुलुंगो’ बोकेर खेततिर लम्किँदै हुन्छे । पृष्ठभूमिमा बाल अधिकारको गीत गुन्जिरहन्छ, ऊ खेतमा काम गरिरहन्छे । ‘ह्वील्स अन द बस’ को अन्तिमको दृश्य पनि निकै बलियो छ । जब भ्याल विद्यालय प्रांगणबाट टाढिँदै जान्छ, पृष्ठभूमिमा साथीहरू गाइरहेका हुन्छन्, ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली ।’ त्यतिन्जेल भ्यालले थाहा पाइसक्छ, ‘एउटै थुंगाका फूल भए पनि एउटै मालामा उनिन बाँकी नै छु ।’ गत वर्ष बर्लिन फिल्म फेस्टिभलको ‘जेनेरेसन के–प्लस’ तर्फ छनोट भई विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको यस फिल्मले यसै साता काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’ मा उत्कृष्ट फिक्सन अवार्ड जित्यो ।
...
व्यावसायिक फिल्मकर्मीले उठाउन नसकेका यस्ता थुप्रै मुद्दामा बनेका फिल्म देखाउने गजबको प्लेटफर्म बन्यो– भर्खरै सकिएको किम्फको २० औं संस्करण । फरक मुद्दाका विविध फिल्मको यो महोत्सवमा स्वतन्त्र फिल्मकर्मीका आवाज समेटिए । नयाँ कथावाचनको साक्षी बन्यो– किम्फ । कथा वाचनमा छुट्टै छवि बनाएको ‘हेर्ने कथा’ टिमको ‘बाघको बंगारा’ देखाएर सुरु भएको महोत्सव ‘पोलियो’ रोगविरुद्धको सहयोगार्थ डकुमेन्ट्री ‘फ्लाई फ्रम एभरेस्ट’ प्रदर्शन गर्दै समापन भयो ।
‘किम्फ’ मा देखाइएका फिल्मले फरक कथा–वाचन, फरक आवाज र विविधताका फरक स्वाद पस्किए । तर, पर्वतीय विषयका भिन्नाभिन्नै फिल्म हेर्दै गर्दा पर्वतका फिल्म/डकुमेन्ट्री बनाउने नेपाली फिल्मकर्मीको अभाव भने महसुस भइरह्यो । यस वर्ष किम्फमा प्रदर्शन भएको नेपाली एनिमेसन फिल्मले हाम्रो फिल्म उद्योगको दायरा बढाइदिएको छ । तर, फिल्मको यति ठूलो महोत्सवमा पनि मूलधारका फिल्मकर्मीको आकर्षण नबढ्नु दुःखद पक्ष नै हो ।

कोसेली

कवितामा हाई भोल्टेज

- विष्णु सन्न्यास

यो देशमा कविको सङ्ख्या कति छ ? ठ्याक्कै भन्न नसकिएला, तर आजभोलि कवि नभेटिने कुनै सडक छैन, गल्ली छैन, सहर र चोक छैनन् । कविता लेख्नेको सङ्ख्या बढ्नु खुबसुरत कुरा हो ।
तर, कवितासँगै कविताको दलाली गर्नेहरू पनि उत्तिकै उर्लंदो वृद्धिदरमा छन्, यो खतरनाक र डरलाग्दो विषय हो । किनभने कवितामाथिको दलाली भनेको चेतनामाथिको दलाली हो । यसले समाजलाई भुत्ते बनाई छोड्छ, समाजलाई मारेरै छोड्छ ।
कविता के हो ? कसरी निर्माण हुन्छ ? र, आजको समयले मागेको कविता कस्तो हो ? यो आधारभूत चेतनाको जगभन्दा धेरै पर उभिएर फेरि उनीहरू नै जोडजोडले चिच्याइरहेका छन्– यस्तो (मैले भनेको जस्तै) हुनुपर्छ कविताको काया । अनेकन् घटनाका उग्रता बल्झिरहने हाम्रोजस्तो अल्पविकसित देशमा कविहरू झनै उग्र छन् ।
माथि उल्लेख गरिएका कविभन्दा नितान्त फरक भूमिकामा छन् कवि नवीन अभिलाषी । यस समयको सचेत र सक्षम कवि । उनको नयाँ कविता–किताब छापिएर आएको छ–‘मौलामा बाँधिएको राँगो’ । संग्रहको नाम शीर्षकको कवितासँग म पहिल्यैदेखि सहमत थिइनँ र छैन । अर्थात् मलाई मन नपर्ने कविता हो ‘मौलामा बाँधिएको राँगो’ । बाँकी कवितासँग असहमत छैन ।
सानो छँदा ट्याक्टर ड्राइभर बन्ने ठूलो रहर बोकेको केटो आज कवि भएको छ । ‘जनयुद्ध’ ले मलाई सहर छिर्न दिएन उबेला । तर, नवीनलाई त्यही युद्धले गाउँ बस्न दिएन । नेपाल प्रहरीका जागिरे बुवालाई माओवादीको गोली लागेपछि सानैमा सपरिवार प्यूठानबाट दाङ झर्‍यो । हो त्यसपछि उनी आजसम्मै सहरमा छन् । हुन सक्छ अब कहिल्यै त्यो विकट गाउँ फर्कनेछैनन् ।
नवीन कवितामा के लेखिरहेका छन् ? प्रेम, समाज, यौन, आँसु, जीवन, भूगोल, विद्रोह, राजनीति, देश, संसार सवै–सवै लेखेका छन् कविताहरूमा । ‘धूलोहरूको उडान’ च्याप्टरबाट सुरु भएर ‘आफ्नो टाउको खोज्दै’ सम्म पुग्दा कविताका ४८ पहाड ४८ पटकै चढ्नुपर्छ यस पुस्तकमा । ४८ कविताको ४८ पहाड ४८ पटकै चढ्नुपरे पनि त्यो केही घण्टामै चढेर सकिन्छ । तर, ती पहाडबाट देखिने र देखाउन खोजिएको परपरको संसार पूरै बुझ्न सायद एक युग लाग्न सक्छ । तर, त्यसपछि पनि कविताका रहस्य बाँकी रहलान् ।
पुँजीवादले निल्दै गइरहेको निम्नवर्गीय मानिसको संसार अँध्यारोतिर धकेलिँदै गइरहेको छ । त्यही अँध्यारो बाटोविरुद्ध छन् नवीनका कविता । पुँजीवादले दुनियाँका सबै चीजलाई वस्तुकरण गर्दै गइरहेको नमीठा सत्य छन् हाम्रा अघि । प्राकृतिक रूपमा हृदयबाट उत्पन्न हुने प्रेम पनि किनबेचको दुनियाँतिर पसिरहेका बेला यी कवितामा प्रेमिकाको पुँजीवादी अँगालोका विम्ब छन् ।
जुन संस्कृति र विचारविरुद्ध हजार पटक प्रशिक्षण भए, हजार मानिस मारिए, हजार मानिस हराए र घाइते भए, आज घुमीफिरी तिनै नेतृत्व त्यही संस्कृति र विचारको चरणमा आइपुग्नुलाई कसरी हेर्ने ? यत्ति लामो समय जनताको आँसु र पसिनाको दोहन गर्नेलाई कसले ठीक पार्ने ? ‘एउटा कम्युनिस्ट नेता’ लगायतका केही कविता यही सत्यवरिपरि घुम्छन् ।
नवीन अभिलाषीको पहिलो कवितासंग्रह ‘ईश्वरको अस्थिपञ्जर’ मा कस्ता कविता थिए ? ऊ र प्रकाशकबाहेक सायद अरूलाई थाहा छैन । किनभने प्रकाशन भएकै दिन छापिएका सबै प्रति कवि आफैंले गायब पारे । कारण अझैसम्म बताएका छैनन् उनले । यो उनको तेस्रो संग्रह हो । तमाम अकवि र अकविताले कविताको संसार धमिलो बनाएको यो बेला कवितालाई सङ्लो पार्न सक्ने क्षमता र अभिभारा दुवै छ उनीसँग ।
आजको विश्व मानव सभ्यता बहुल सांस्कृतिक अस्तित्व स्विकारेर बाँचिरहेको छ । तर, हाम्रो देशको कथा उही छ बदलिन बाँकी । खासमा हामीले भोगेको र देखेको भन्दा डरलाग्दो र विषम छ यो देशको ब्राह्मणवादी हिन्दु सत्ताले समाजमा रोपेको विभेदको दर्पण चेतना, जो अर्को फरक भाषा, फरक संस्कृति, फरक अनुहार र फरक सभ्यता भएको मानिसको कविता लेख्दैन र लेखे पनि त्यसलाई कविता मान्दैन । यी विभेदको चाङबाटै थिचिएर गुमनाम छन् इतिहासको चिहानमा कैयौ सीमान्तकृत मान्छेका सत्य । यिनै सत्यले इतिहासभरि नै सत्ताको
साङ्लोमा बाँधिएर दासकालीन लामा शृङ्खला बिताए । यसको प्रतिरोधमा किताबका ‘शूद्रको प्रश्न’, ‘आदिवासी आइमाई’, ‘थारू’ लगायतका कविता शक्तिशाली लाग्छन् । कवि भन्छन्, ‘कविता लेखेर मात्रै पनि नपुग्ला । खासमा समाज नै विनिर्माण गर्नुपर्छ, यो व्यवस्थाको सम्पूर्ण व्याकरण नै बदल्नुपर्छ ।’ तर, कसरी ? मूल कुरा त इतिहास निर्माण गर्ने मालिक यी कविता बुझ्दैनन् । जसले यी कविता बुझ्छन्, तिनीहरू इतिहास बदल्ने ठाउँमा छैनन् । तर, खबरदारीहरू पनि हराए भने हामी स्वतः हराउनेछौं । र, हामीलाई हराउने छुट कदापि छैन ।
सदियौंदेखिको पितृसत्ताले बनाएको भाष्यविरुद्ध नारीसत्ता र मुक्तिको खतरनाक उद्घोष हुन सक्छ ‘स्कुल गइरहेकी हजुरआमा’ कविता । पितृसत्ताले नारीलाई घरको चुलोचौकोमै सीमित बनाएर व्यावहारिक बन्धनको अर्गेलाले थुनिराख्नु सायद उनीहरूलाई कारागारमा राख्नु बराबर हो ।
यहाँ दौरा–सुरुवालको संस्कृतिमा अल्झिएका अनेकौं सांस्कृतिक सौन्दर्य छन् । दौरा–सुरुवाल आउनुअघिका अनुपम आदिम सौन्दर्यका सरजामहरू कहाँ हराए ? ककसले मिचे दौरा–सुरुवालइतरका ती संस्कृति र सभ्यता ? किन पहिचान र अस्तित्वको सीमा सधैं अरूले नै तोकिदिन्छ यहाँ ? प्रश्नको सिलसिला चलिरहेकै छ । तर, अब नवीनहरू कमजोर छैनन् । उनीहरूसँग विचारको आगो छ, जसले विभेदका आलाप मेटाउन सक्नेछन् । चेतनाका नयाँ हतियार छन्, जसले चुँडाल्न सक्नेछन् खिया लागिसकेका इतिहासका तमाम विनियम । यही भन्छ नवीनको ‘रातो गंगा’ र ‘बक्यौता हिसाब’ कविताले । ‘मौलामा बाँधिएको राँगो’ भित्रका कवितामा छन्– सामाजिक पहिचान, अस्तित्व, समता र समानताको अपिल । अनि छन्– पुरातन सत्ताले निर्माण गरेको सांस्कृतिक गजवारमाथिको सशक्त प्रतिरोध । यो किताबका कविताले सचेततापूर्वक इतिहासले निर्माण गरेका सामाजिक, सांस्कृतिक र धार्मिक मान्यतामाथिको विश्वास छेदन गर्नेछन् ।
यी कविता हाई भोल्टेजमा चम्किरहेका झिलिमिली सहरका रंगीन बल्बजस्तै छन्– एकदम उज्याला, चम्किला र झल्लमल्ल । तर, केही कविताको अन्त्य जूनकिरी पनि हराएको अनकन्टार जंगली गाउँको उदास साँझजस्तै छ– मलिन, अँध्यारो र निराश । हुन सक्छ कविको जीवन उज्यालो र अँध्यारोका केही फ्युजनबाट गुज्रिरहेको छ । उनको जीवनको बाटो खोज्न अनेक पहिरोमा पुग्नुपर्छ । कुनै दिन आफैं लेख्लान् उनका आँखाभित्रका गहिरा गल्छीहरूको कथा ।

Page 11
कोसेली

कोदारी राजमार्गको कथा

- कान्तिपुर संवाददाता

 

चेङ सुयोङ
(अनुवाद ः नीरज लवजू)


नेपाल र चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण ल्हासा र काठमाडौं जोड्ने राजमार्ग बनाउने निर्णय बुद्धिमत्तापूर्ण थियो । नेपाल र तिब्बतबीच निकै पुरानो मैत्रीपूर्ण सम्बन्ध भए पनि अग्ला पहाड र हिमाल दुईपक्षीय व्यापार र आवतजावतमा अवरोध बनेका थिए । आधुनिक सडक निर्माणले चीन र नेपालबीचको यातायातमा ठूलो सुधार र जनस्तरको सांस्कृतिक सम्बन्ध बढाउन मद्दत गर्थ्यो । तिब्बतलाई बाँकी संसारसँग जोड्न यादोङ बन्दरगाहबाट सिक्किम हुँदै कलकत्ता बन्दरगाह जोड्ने एउटा बाटो थियो । सन् १९६२ को चीन र भारतबीच सीमा युद्धपछि त्यो सडक ठप्प भयो । त्यसकारण दक्षिण एसियासँग जोडिन चीनलाई नयाँ बाटोको खाँचो पर्‍यो । चीन र भारतबीच पर्ने भूपरिवेष्टित देश नेपालको अर्थतन्त्र, व्यापार, रक्षालगायत विविध पक्षमा भारतको बलियो प्रभाव छ । आफ्नो सार्वभौमिकता जोगाउन नेपालले चीनसँग बलियो सम्बन्ध विस्तार गर्नुपरेको थियो । चीन–नेपाल राजमार्गबारे केही विदेशी शक्तिले कोकोहोलो मच्चाएका थिए । तर, राजा महेन्द्रले यस्ता दबाबको सामना गर्दै सार्वजनिक रूपमै भने, ‘नेपालमा साम्यवाद ट्याक्सी चढेर आउँदैन ।’
चीन–नेपाल राजमार्गअन्तर्गत ल्हासादेखि न्यालमसम्मको खण्ड ७१४ किलोमिटर लामो छ । न्यालमसम्म बाटो बनिसकेको थियो । न्यालमदेखि सिमानासम्म ४० किलोमिटरको बाटो बन्दै थियो । नेपालतिर काठमाडौंदेखि सीमावर्ती कोदारीसम्मको ११४ किलोमिटर राजमार्ग (काठमाडौं–कोदारी राजमार्ग) चीनको आर्थिक र प्राविधिक सहायतामा बनाइन लागेको थियो । सन् १९६३ मा त्यो बाटो बनाउने सहमति भएलगत्तै चीन सरकारले इन्जिनियरहरूको विज्ञ टोली नेपाल पठायो । त्यो टोलीलाई सर्भे, डिजाइन र बाटो बनाउने जिम्मा दिइएको थियो ।
कोदारीदेखि बाह्रबिसेसम्मको २० किलोमिटर बाटो बनाउन विकट पहाडहरू छिचोल्नुपर्थ्यो । नेपालको अनुरोध र अध्यक्ष माओ त्सेतुङको निर्देशनमा चीनले नेपालीहरूलाई दुःख नदिई यो सडकखण्ड बनाउन विज्ञ इन्जिनियरहरूको टोली नेपाल पठाएको थियो । ‘चिनियाँ सेना नेपाल पस्यो’ भनी विदेशी मिडियाले झूटो हल्ला फैलाउन सक्ने र संसारमा भ्रम फैलाउन सक्ने सम्भावनालाई ध्यानमा राखी सल्लाहबमोजिम चिनियाँ इन्जिनियरहरूको टोलीलाई ‘चिनियाँ सडक निर्माण बटालियन’ भनियो । बाटो निर्माणमा संलग्न चिनियाँ सैनिकले पोसाकको सट्टा गाढा हरियो सादा पोसाक लगाउने सहमति भयो । उनीहरू कसैले पनि हातहतियार बोकेका थिएनन् । सडक बनाउने ज्यावल र मेसिन मात्रै बोकेका थिए ।

ल्हासादेखि झाङ्मुसम्म
सन् १९६४ मा मलाई ‘चिनियाँ सडक निर्माण बटालियन’ सँग जाने आदेश प्राप्त भयो । तिब्बत सैनिक क्षेत्रीय कमान्डको मालवाहक ट्रकमा म ल्हासा गएँ । चोमोलाङ्गमा हिमालको फेदको सिगात्सेको टिङ्गी काउन्टी हुँदै म न्यालम पुगें । ४ हजार मिटरभन्दा बढी उचाइका हिउँले ढाकेका टारमा बनेका ग्राबिल बिछ्याइएको कच्ची सडकबाट न्यालम पुगियो । न्यालम तिब्बत र नेपालबीच मुख्य व्यापारिक नाका थियो । त्यहाँ नेपालको वाणिज्य दूतावास थियो । सीमासम्मै बाटो पुग्ने भएपछि न्यालमको व्यापारिक केन्द्र सीमावर्ती झाङ्मु (नेपालीमा खासा) सार्ने तयारी भइरहेको थियो । अर्को दिन सैनिक जिपमा झाङ्मुतिर लागें । झाङ्मुसम्मको यात्रा ३० किलोमिटरको थियो । दस किलोमिटर सडक खनिसकिएको थियो । बाँकी बन्दै थियो । केहीबेरमै जिप ‘भर्खरै खुलेको’ बाटोको मुखमै पुग्यो । अगाडि बाटो निकै साँघुरो थियो । आवश्यक सामान आपूर्ति गर्न मालवाहक गाडी गुड्ने एकोहोरो सडक बनेको थियो । एकातिर चट्टान, अर्कोतिर भीर । गाडीको चक्काको आधा भाग तल भीरतिर झुन्डिएको देख्दा मन सिरिङ्ग हुन्थ्यो । झाङ्मु दुई हजार तीन सयको उचाइमा अवस्थित छ । जीवनमा पहिलोपटक हिमालयको मनोरम दृश्य त्यहाँ देखें । बाटोमा धेरै झरना र खोल्साहरू थिए । माथिजस्तो हावा चिसो थिएन, स्वच्छ र ओसिलो थियो । त्यसकारण श्वास फेर्न सजिलो थियो ।
सडक निर्माणका निम्ति विस्फोटनको काम भइरहेकाले गाडीको यात्रा रोकियो । झोला बोकेर हिँड्दै भिरालो पहाड पार गरें । अगाडिको गोरेटो बाटो घण्टौं हिँडेर म झाङ्मु पुगें ।

नेपालतिर
अर्को दिन चिनियाँ बटालियन सदस्यहरूसँग म पनि झोला, टेन्ट, खाना पकाउने भाँडाकुँडा र निर्माणका औजार बोकेर विकट पहाडी बाटो छिचोल्दै गएँ । बाटोमा नेपालीहरूसँग भेट हुन्थ्यो । उनीहरू थाप्लामा नाम्लो र चोयाको डोकोभरि सामान बोकेर उकालो उक्लिरहेका थिए । झाङ्मुबाट चीन–नेपालको सीमामा पर्ने मितेरी पुल पुग्न १३ किलोमिटर हिँड्नुपर्थ्यो । अघिल्लो दिनको हिँडाइले मेरा खुट्टा दुखिरहेका थिए । झाङ्मु र नेपाललाई भोटेकोसी नदीमा बाँधिएको
काठे पुलले अलग्याएको थियो । माथिबाट बग्दै आएका
ठूलाठूला चट्टानमा ठोकिँदै भोटेकोसीमा बगेको पानी सेतो देखिन्थ्यो । झोला सम्हाल्दै म मितेरी पुल तरेर नेपाली भूमि प्रवेश गरें ।
नेपालतिर सीमा प्रहरी र भन्सारका कर्मचारीहरू थिए । उनीहरूले हामीसँग केही सोधेनन् । मैत्रीपूर्वक हेरिरहे । हामीले लगाएको पोसाक र बोकेका झोलाझाम्टा देखेर उनीहरूले हामीलाई चिनिसकेका थिए । मितेरी पुलबाट शिविरसम्म पुग्न एक किलोमिटरभन्दा लामो दूरी छिचोल्नुपर्थ्यो । मेरो झोलाको तौल झन्झन् बढिरहेको अनुभव भइरहेको थियो । खुट्टा शिथिल बन्दै थिए । बाटो निकै चिप्लो थियो । खाल्डाखुल्डीको कुरा गरिसाध्यै थिएन । एकातिर भिरालो भीर, अर्कोतिर छङछङ बगिरहेको नदी । कतै चिप्लिए सिधै नदीमा जाकिन्थ्यो । एक मिटरको एकतिहाइ जति चौडा हिलाम्य सडकको तल्तिर हेर्ने आँट आएन ।
जसोतसो हामी चिनियाँ बटालियनको मुख्यालय पुग्यौं । केही परको नेपाली शिविरमा रातदिन नेपाली सेनाको पहरा हुन्थ्यो । शिविर नजिकको मितेरी पुल पुग्ने राजमार्गको बाटो नबन्दासम्म चीन पुग्ने एउटै बाटो थियो ।
मुख्यालयभित्र भिरालो जमिनमा एकातिर काठ थुपारेर सम्म बनाई चारैतिर डोरी तानेर बस्न मिल्ने बनाइएका टेन्टहरू थिए । टेन्टभित्र दुईवटा सामान्य चोयाका खाट थिए । मोटा चोयालाई सन्पातको डोरीले बाँधेर खाट बनाइएको थियो र चारवटा टेकोले उठाइएको थियो । खाटमा कपासको पातलो डस्ना बिछ्याएँ र त्यसमाथि तन्ना । सबै लुगाफाटा एकछेउ गम्छाले छोपें । त्यत्ति भएपछि सुत्न समस्या भएन । मुख्यालयका मुख्य अधिकारी ली र सहायक प्रमुख वाङ थिए । वाङ र म एउटै टेन्टमा बस्थ्यौं ।

खतरनाक र जोखिमको काम
हामी पुगेसँगै चिनियाँ बटालियनले काम थाल्यो । झन्डै पाँच सय मानिसलाई पाँचवटा उपसमूहमा विभाजन गरी हरेक उपसमूहलाई अलग सडक–खण्ड बनाउने जिम्मा लगाइएको थियो । पहिलो चरणमा ट्र्याक खोल्नु थियो । २० किलोमिटर लामो सडकखण्ड पहाडको उचाइमा पर्थ्यो । काम जोखिमपूर्ण थियो । सिपाहीहरू कम्मरमा मोटो डोरी बाँधेर हातमा मुंग्रा र छिनासहित दर्जनौं मिटर अग्ला चट्टान झुन्डिएरै फोड्थे । एकजनाले छिना समात्थ्यो र अर्कोले मुंग्राले हान्थ्यो । उनीहरू खोप्दै विस्फोटक पदार्थ राख्ने प्वाल बनाउँथे । कैयौं मानिस फलामको उत्तोलकले ठूलाठूला चट्टान पन्छाउँथे । स–साना चट्टान हातैले पन्छाउँथे । चट्टानमा प्वाल पार्दा, प्वालमा विस्फोटक राख्दा, विस्फोट नभएका विस्फोटक पन्छाउँदा र माथिबाट ढुङ्गा खस्दा काम गरिरहेका जवानहरूको ज्यान जोखिममा पर्थ्यो । काम थाल्नुअघि धरापका ढुङ्गा पन्छाउन लगाइन्थ्यो । तर, दुर्घटना भने भइरहन्थ्यो ।
एक दिन हातको मुठ्ठीजत्रो ढुङ्गा माथिबाट हुत्तिएर हेल्मेट छेडेर टाउकोमा लाग्दा एकजना सिपाही ठहरै भए । एक वर्षको अन्तरालमा यसरी चार जना सिपाहीहरूले ज्यान गुमाएका थिए । उनीहरूलाई झाङ्मुको सहिद स्मारकमा समाधिस्थ गरिएको थियो । चीनतिर बाटो बनाउँदा अरू पनि धेरैले ज्यान गुमाएका थिए ।
हरेक साँझ पहाडमा विस्फोटनका ठुल्ठूला प्रतिध्वनि सुनिन्थ्यो । दस टन बराबरको विस्फोटकको विस्फोटन चर्को सुनिन्थ्यो । त्यसले ७–८ हजार क्युबिक मिटर ठूलो चट्टान फुटाउँथ्यो ।
दुई कमान्डरको मैत्रीपूर्ण व्यवहार
कमान्डर ली लेफ्टिनेन्ट कर्णेल र इन्जिनियर टोलीका राजनीतिक कमिसार थिए । म भाषानुवादक । हामीले दुईजना नेपाली सैनिक कमान्डरहरूसँग सम्पर्क गर्नुपर्थ्यो । थापा थरका सीमा कमान्डर सीमा रक्षाका निम्ति जिम्मेवार थिए । कार्की थरका अर्का कमान्डरको जिम्मेवारी चिनियाँ बटालियनको सुरक्षा थियो । दुवै मेजर थिए । हाम्रो मुख्यालयको झन्डै एक सय मिटर पर उनीहरू बङ्गलामा बस्थे । दुवै जना विनम्र र फरासिला थिए । सधैं हाँसेर नमस्कार गर्थे । हाम्रा टोली नेता ली भन्थे, ‘अध्यक्ष माओ र चीन सरकारको निर्देशनअनुसार हामी नेपालमा चीन–नेपाल राजमार्ग बनाउन आएका हौं । हामी यो गौरवपूर्ण काम समयमै सक्ने वाचा गर्छौं । यो बाटोले दुई देशबीचको सम्बन्धलाई अझ नजिक ल्याउनेछ । हाम्रा नेताहरूले हामीलाई नेपालको चालचलन र परम्पराप्रति सम्मान गर्न भनेका छन् । हामीबाट अन्जानमा केही गल्ती भए समयमै भन्नुहोला है ।’
नेपाली मेजरहरू भन्थे, ‘नेपाल गरिब देश हो । यातायातमा निकै समस्या छ । यो राजमार्ग बनाउन तपाईंहरू आउनुभएकामा नेपाली जनता निकै आभारी छन् । नेपालको पहाडमा बाटो खन्न धेरै जोखिम छ । चिनियाँ कामदारहरू जोखिमसँग डराउँदैनन् । खतरा मोल्छन् । अनुशासित छन् । हामीले यो सबै देख्यौं । स्थानीय जनता पनि खुसीसाथ भन्छन्– चिनियाँहरू राम्रा छन् ।’
कहिलेकाहीं नेपाली कमान्डरहरूलाई चिनियाँ चियाको स्वाद चखाउँथ्यौं । हामी पनि दूध, चिनी र चियापत्ति मिलाइएको चियाको स्वाद लिन्थ्यौं । विभिन्न अवसरमा नेपाली मेजरहरूलाई चिनियाँ परिकार खुवाउँथ्यौं ।
नेपालमा काम गर्दा चिनियाँ बटालियनका सदस्यहरूले कहिल्यै तीन अनुशासनका नियम र ध्यान दिनुपर्ने आठ कुरा उल्लङ्घन गरेनन् । स्थानीय जनतालाई दुःख दिएनन् । कोदारीमा सडकछेउ चर्चित तातोपानी कुण्ड छ । नेपाली महिला र पुरुष त्यहाँ नुहाउँछन् । उबेला महिलाहरू लुगा लगाएरै स्नान गर्थे भने पुरुष जाँघे मात्रै लगाएर । हाम्रा चिनियाँ सिपाहीहरू धुलोमैलोले गन्हाउने भइसक्दा पनि तातोपानीमा कहिल्यै नुहाएनन् । बरु नदीको चिसो पानीमा नुहाउँथे । चिनियाँ ज्यामीहरू कहिल्यै स्थानीयका घर, बजार वा पसलमा गएनन् । विस्फोटनबाट स्थानीय बासिन्दा प्रभावित नहोउन् भनी सदैव विचार पुर्‍याइयो । सडक निर्माणका निम्ति आवश्यक सामान र दैनिक आवश्यकताका सामान चीनबाट ल्याइन्थ्यो । केही खाद्यान्न र सागसब्जी मात्र नेपाली बजारबाट उचित मूल्यमा खरिद गरिन्थ्यो । गरिब पहाडी देश भए पनि नेपालका जनता सहृदयी, इमानदार र सरल छन् । वरपर डाँकु वा चोर नभएकाले चिनियाँ जवानहरू र सरसामान सुरक्षित थिए ।

स्वास्थ्य सेवा
म चिनियाँ बटालियनका चिकित्सकको भाषानुवादक थिएँ । एउटा टेन्ट अस्पतालका रूपमा प्रयोग गरिएको थियो । ती चिकित्सक चिनियाँ जवानहरूको उपचार गर्थे । हप्ताको दुई दिन भने स्थानीय जनताको निःशुल्क स्वास्थ्य परीक्षण गर्थे । कोदारीका पहाडी बस्तीबाट गरिब जनता उपचारका लागि आउँथे । उनीहरू ख्याउटे र कमजोर देखिन्थे । उपचारका लागि आउने महिलाहरूको अनुहार हेर्दा चालीस वर्षभन्दा माथिका देखिए पनि खास उमेर भने तीस वरपर हुन्थ्यो । हैजा, पखाला र क्षयरोगले पिरोलिएका बिरामी धेरै हुन्थे । चिकित्सकको औषधिले उनीहरूमा निकै राम्रो प्रभाव पार्थ्यो ।
आयोडिनको कमीले गलगाँड बोकेका मानिस धेरै आउँथे । चिकित्सक उनीहरूलाई आयोडिनका चक्की दिन्थे । भाषानुवादक भएकाले म स्थानीय जनतासँग नजिकिएँ, उनीहरूको अवस्थाबारे धेरै कुरा थाहा पाएँ । चीन आफैं धनी देश होइन । तथापि समाजवादी देश भएकाले गरिब र छिमेकी देश नेपाललाई सहायता गर्नु चीनको अन्तर्राष्ट्रवादी कर्तव्य हो ।
मितेरी पुल बन्नुअघि त्यहाँ एकजना मात्रै मान्छे हिँड्न सकिने काठे पुल थियो । त्यहाँ पक्की पुल बनायौं । पैदल यात्रु र सवारी साधन दुवैका लागि बनाइएको पुलमा दुईतिरबाट गाडी आवतजावत हुन्थ्यो । पुलमा चिनियाँ र नेपाली दुवै भाषामा लेखियो– ‘मितेरी पुल’ । चिनियाँ नामलाई मैले नेपालीमा अनुवाद गरेको थिएँ । कमान्डरको अनुमोदनपछि मैले ठुल्ठूला अक्षरमा नेपालीमा लेखेको थिएँ– ‘मितेरी पुल’ । प्राविधिकहरूले त्यहीअनुसार, पुलमा रातो रङले ‘मितेरी पुल’ लेखेका थिए । नेपालीमा त्यहाँ लेखिएको नाम देख्दा गौरवले मेरो छाती ढक्क फुल्छ । हामीे चीनमा जे खान्थ्यौं कोदारीमा पनि त्यही खायौं । त्यहाँको जीवन कठिन थियो । बस्ने पालहरू साँघुरा थिए । चोयाका खाट कतै होचो, कतै अग्लो थियो । सुत्दा असजिलो हुन्थ्यो । धेरै दुःख त जुकाले दिएको थियो । चीनको दक्षिणी भागका धान खेतमा पाइने जुकाभन्दा त्यहाँका जुका साना थिए । तर, त्यहाँका जुकाले रगत सोस्थ्यो । झाडीमा हिँड्दा कतिबेला जुका खुट्टामा टाँसिएर रगत चुस्छ, चालै पाइँदैनथ्यो । मोजाभित्र पसेर पनि तनतनी रगत चुसिरहेको हुन्थ्यो । कहीं बाहिर गएर फर्केपछि सबैभन्दा पहिले खुट्टामा कतै जुका छ कि भनी हेर्नुपर्थ्यो । राति कति बेला त टाउकोमै जुका टाँस्सिएको हुन्थ्यो ।

उद्घाटन
राजमार्गको नेपाल खण्ड सन् १९६७ मा तयार भयो । नेपाल सरकारले बाटोको नाम अरनिको राजमार्ग राख्यो । जून महिनामा भक्तपुरमा भव्य उद्घाटन कार्यक्रम भएको थियो । समारोहमा राजा महेन्द्र सहभागी भई रिबन काटेका थिए । चीनबाट परराष्ट्र आर्थिक सम्बन्ध आयोगका निर्देशक सहभागी थिए । म चिनियाँ दूतावासमा काम गर्थें । भाषा अनुवादको काम मैले गरेको थिएँ । कार्यक्रमपछि चिनियाँ पक्षले भव्य भोजको आयोजना गर्‍यो । नेपाली राजाका प्रतिनिधि, मन्त्री, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति र विदेशी कूटनीतिज्ञसमेत दुई सय जनाको सहभागिता थियो । चीन–नेपाल राजमार्गको निर्माणले नेपालमा गहिरो प्रभाव पार्‍यो ।

(नेपाल–चीन सम्बन्धबारे चिनियाँ र नेपालीले लेखेका संस्मरणहरूको किताब ‘यु एन्ड अस ः स्टोरिज अफ चाइना एन्ड नेपाल’बाट । यस संस्मरणका लेखक चेङ सुयोङ नेपालका लागि पूर्वचिनियाँ राजदूत हुन् ।)

कोसेली

कस्तो हुन्छ नेपाली हिरोको कल्पना ?

- अभि सुवेदी

 


नेपालमा हिरोको कल्पना कसरी गरिन्छ भन्ने साधारण प्रश्नमाथि मैले खासै गम्भीर विचार गरिएको भेटेको छैन । हिरो विषयलाई हेर्ने दृष्टिका दुईवटा पाटा छन् । एउटा पाटो ऐतिहासिक छ भने अर्को पाटो हाम्रै समय चेतनाले रञ्जित । यो लेखमा यस विषयको छलफल गर्ने ठाउँ नभएकाले केही आवश्यक प्रसंग मात्रै जोडिएका छन् । आफ्नो अध्ययन र अध्यापनको सन्दर्भमा मैले हिरोको पाश्चात्य दृष्टि र सिद्धान्तको बढी प्रयोग गरिबसेको रहेछु । तर, आजकाल हिरोको व्याख्याको विषयले यसमा चुनौती आउन थालेको छ । हिरो विषयका दृष्टिहरूमा परिवर्तन आएका छन् । तर, पछिल्ला दिनमा नेपालमा हिरोको कल्पना नेपाली परिवर्तनको कथासँग जोडिएर आएको हुनाले यसमा चाख बढेको हो ।
युगसम्मत चेतना, गणतान्त्रिक प्रजातान्त्रिक संविधान अनि पछिल्ला राजनीतिक परिवर्तनले ल्याएका लहरले यहाँ हिरोका कल्पनाहरू जन्माउन थालेका हुन् । त्यसमा पनि हालै सम्पन्न आमनिर्वाचन अनि त्योभन्दा पहिलेका उथलपुथलहरूमा हिरो र उल्टा–हिरो (एन्टी हिरो) का कुरा ओइरो लागेर आए । आफैंलाई हिरो ठान्ने र घोषणा गर्ने मनोग्रन्थिहरूले पनि काम गरे । झुन्डझुन्ड भएर आ–आफ्ना हिरो रचना गर्ने खेलहरू भए । त्यसबाट जन्मेका हिरोहरूका युद्ध भए । वाण होइन वाणी प्रहार गरेर मञ्चरूपी रथहरूबाट ती हिरो महारथीहरूका हानाहान भए । क्रम जारी छ । हिरोको रचना आफैंले गर्ने हो किनभने आफूले केही नगरी अरूले हिरो भन्दैन । त्यो केही गर्ने भनेको सबैभन्दा हिरो बनाउने र बन्ने खेल हो । तर, नेपालमा अहिले हिरो बन्ने र बनाउने खेलमा गहिरा कारणहरू रहेछन् । त्यसमा व्यक्तिहरूका क्रियाकलाप र तिनका सपना अनि महत्त्वाकांक्षाले ठूलो भूमिका खेल्ने रहेछन् । आफ्नो सोचाइ र अध्ययनबाट पाएका आधारमा हेर्दा नेपालमा अहिलेको हिरोको काल्पनिकीको पछिल्तिर मान्छेका मनको खेल अथवा मनोग्रन्थिका क्रियाकलाप हुँदा रहेछन् । ती क्रियाकलाप हेर्ने सबैभन्दा सजिलो पाटो राजनीति र शक्तिको खेल हो ।
केही हुने चाहना बलियो भएका, केही गर्न सक्ने अथवा आफैंलाई केही गर्न सक्ने हुँ भनेर फाइँफुइँ लाउनेहरू आफू हिरो भएको प्रचार गर्छन् । तर, अर्को पक्ष ऐतिहासिक छ । त्यो भनेको विगतका हिरोलाई उठाएर अहिले तिनको अनुकरण गर्दै, तिनलाई ब्युँझाएर तिनका नाममा आफू हिरो भएको कल्पना गर्नु हो । यस्ता दुवै किसिमको हिरो हुने चाहना साहित्यमा भन्दा राजनीतिमा बढी प्रस्ट देखिन्छ । अहिलेको चुनाव लड्ने पुराना र नयाँ दलहरूका सिद्धान्त र तिनका योजना हेर्दा यो थाहा हुन्छ । कसैले परिचित वैश्विक राजनीतिक सिद्धान्त लिएर हिरो हुने योजना बनाएका छन् भने कसैले हिजोका सामन्ती संस्कार, व्यवस्थाका शासक र हिरोलाई ब्युँझाएर आफ्ना चाहनाको परिपूर्ति गरेका छन् । नेपालमा यस्ता हिरोको प्रभुत्व सामन्ती संस्कारबाट आएको हो । अर्को अहिले रचना गर्ने भनेको पक्ष अलिक सूक्ष्म छ । हाम्रा अनेकौं पुस्ताका हिरो मान्ने र बनाउने तरिकाहरू छन् । हिजोका राजनीतिमा हिरो बनाइएकाहरूको वरिपरि लाग्ने उज्यालो परिवेश अहिले धूमिल हुँदै गएको छ । हिजोका मान्यताले अहिले काम नदिने अवस्था आउँदै छ । त्यो देखेपछि नेपालका युवा पुस्ताले आफ्नै किसिमले आफ्नै समयका हिरो बनाउन थालेका छन् । म त्यसलाई एउटा स्वाभाविक र ताजा ऊर्जाको रूपमा मान्छु । नेपालमा हिरोको काल्पनिकी राष्ट्रियतासँग जोडिएको छ, जुन चलन र मनोग्रन्थि हाम्रो मात्र विशेषता होइन ।
हरेक भूखण्ड वा देशमा हिरोका कल्पना गरिन्छन् । पश्चिमी देशहरूमा हिरोका काल्पनिकी बलिया छन् । उनीहरू हिरोलाई मानवको आयामभन्दा पनि ठूलो र मिथकीय चरित्रको रूपमा हेर्छन् । यिनका आकार ठूला हुन्छन् । ती कथानक अनि अहिलेको युगमा प्रचलित दृश्य विधान, भाष्य र मिडियाबाट व्यक्त गरिन्छन् । सबैका हिरोका कल्पना एकनास हुँदैनन् । हिरो हेर्ने दृष्टि पनि एकनासका हुँदैनन् । नेपालमा हिरो बनाउने तरिकामा पश्चिमी मानक मात्रै प्रयोग गरिँदैनन् । अमेरिकी हिरो विषयका विद्वान् र व्याख्याता जोसेफ क्याम्पबेल हिरोलाई एक भयानक धीर र वीरको रूपमा मात्रै हेर्दैनन् । ‘हजार अनुहार भएको हिरो’ भन्ने उनको किताब प्रसिद्ध छ । हाम्रा सर्वसाधारण जीवनमा हाम्रा कर्म पनि हिरोकै यात्रा हुन् । जीवनका कामकाज गर्न मानिस निस्किन्छन् । ती आफ्ना काम गर्ने हिरो हुन् । अन्त्यमा आफ्ना अभीष्ट पूरा गरेर ती फर्किन्छन् । त्यो पनि हिरोको यात्रा हो । त्यस अर्थमा हिरो एक कुनै बलियो महावीर चरित्र मात्र होइन । आजको युगमा हिरोको कल्पना एकनासको हुँदैन । जताततै अनेकौं रूपमा हिरोहरू निस्किरहेका हुन्छन् । अत्याचारी शासक तिनका व्यवस्था र एकतन्त्री पद्धतिसँग लड्नेहरू हिरो हुन् भनेर मान्छ । सिद्धान्तमा मानिने हिरो एक प्रकारका हुन्छन् भने व्यवहारमा देखिने हिरो अर्कै हुन सक्छन् । आधुनिक हिरोका अनुहार धेरै हुन्छन् । उसको यात्रा कठिन पनि हुन सक्छ, तर उसको चरित्र निश्चित हुँदैन । लैंगिक विभेद हुने समाजमा संघर्ष र प्रतिरोध गर्ने महिला हिरो हुन्छन् । स्वाभिमानी नारीहरूलाई शासक दल र तिनका प्रहरीले हत्या गरेका उदाहरण छन् । त्यसको प्रतिरोध गर्ने नारी हिरोहरूलाई हामी देखिरहेका छौं । पुरुषहरू पनि त्यसमा उठेकाले हिरोका चरित्र एकल लैंगिक रूपमा मात्र हेरिँदैनन् । डिक्टेटरहरू पनि आफूलाई हिरोको रूपमा स्थापित गर्न चाहन्छन् । तिनीहरू बहुल हिरोको अस्तित्व मान्दैनन् । तिनलाई दमन गर्छन् । एउटा राजनीतिक सिद्धान्त मान्ने एक–दुई देशका शासक र तिनको दलले बीसौं शताब्दीमा मात्रै दस करोड नरनारीको हत्या गरेको रेकर्डसहित अहिले छलफल भइरहेका छन् । पल हल्यान्डरको किताब ‘बिनितो मुसोलिनीदेखि ह्युगो चाभेजसम्मको हिरो पूजा’ (२०१६) चर्चामा छ ।
साधारण रूपमा भन्दा नेपालमा हिरोको कल्पना अरूतिर जस्तै हुन्छ । हाम्रोमा हिरोलाई ऐतिहासिक रूपमा हेरिएका उदाहरणमा नेपालका राष्ट्रिय विभूतिहरूका विषयमा लेखिएका लेख र ग्रन्थहरूलाई लिइन्छ । वरिष्ठ इतिहासकार महेशराज पन्तले वीर नभनेर विभूतिको अनुपयुक्त नाम दिइएको र ती वीर उर्फ विभूतिबारे मिथ्या बढी लेखिएको भनेर आफ्ना तर्कहरू राखिआएका छन् । उनको ‘कान्तिपुर’
(कात्तिक २७, २०७८) मा प्रकाशित ‘विभूति ः तथ्य कम, मिथ्या बढी’ शीर्षक महत्त्वपूर्ण लेख अनलाइनमा गएर पढ्न सकिन्छ । त्यस्तै वीरको विषयलाई समीक्षा गरी लेखिएको प्रत्यूष वन्तको ‘स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी’ पत्रिकाको जुन १९९६ मा प्रकाशित लेख अनलाइनमा पढ्न सकिन्छ । नेपाली वीरको काल्पनिकी नेपाली इतिहासमा कसरी हेरिएको छ भन्ने कुरालाई इतिहासकारहरूले स्वतन्त्र र निरपेक्ष ढंगले राखेका छन् । त्यसरी राख्नुको पछिल्तिर हाम्रो वीरको काल्पनिकी कस्तो छ भनेर हाम्रा दृष्टि र तिनका सही र अपव्याख्याको चित्र प्रस्तुत गर्नु हो ।
अहिले हामी हिरोहरूका मिथ्या र सही काल्पनिकीले रञ्जित छौं । हल्ला र मिथ्या प्रचार गर्नुको पछिल्तिर हिरो बन्ने काल्पनिकीले काम गरेको छ । केही युवाहरूले एउटा दल खोलेर वा स्वतन्त्र चुनाव लडेर मतदाताको विश्वास जित्ने विषयलाई लौ नयाँ हिरोहरूको जन्म भयो, यिनले के गर्ने भए भन्नुमा हिजोदेखिको संस्कारले बनाएको हिरोको विम्ब भत्किएला भन्ने असुरक्षित मानसिकीले काम गरेको हुन सक्छ । नेपालको राजनीतिमा स्थापित नेतृत्व वर्गले हिरो हुन यस भेकका राजनीतिमा प्रयोग भइआएका, घोर क्रान्तिकारी र युटोपियाली प्रजातान्त्रिक परिकल्पना अनि हिजोका सामन्ती नायकहरूलाई वरण गरेर जन्माएका मिथकको सहारा लिएको देख्न सकिन्छ । तर, हिरोको मिथक सृजनशील र रमाइलो पनि हुन्छ । हिरोको मिथक जन्माउनेहरूले अरू ठाउँमा पनि त्यसलाई खेलको रूपमा लिएर विनिर्माण गरेका उदाहरण छन् । तर, सबैले होस पुर्‍याउनुपर्ने एउटा कुरा छ– मिथ्या मिथकका रचना गरेर इतिहासका व्याख्या नगरियून् । अनुपयुक्त नायकहरू बनाएर तिनका पछिपछि लाग्ने काम नहुन् । यी दुवै किसिमका क्रियाहरूले अधिनायकवाद र त्यसका प्रवर्तक हिरोहरूलाई जन्म दिन्छ । म नेपाली प्रजातन्त्रको प्रशंसक भएकाले यहाँ एउटा जागरुकताको आह्वान गरेको हुँ ।

Page 12
कोसेली

के प्रोटागोनिस्ट बन्लान् मेसी ?

- हिमेश

 

एक युगको अन्त्य । कतार विश्वकपको फाइनल यस्तै हुनेछ । यस्तो किन पनि भने लियोनल मेसी विश्वकप इतिहासमै आफ्नो अन्तिम खेल खेल्दै छन् । विश्वकप त फेरि फेरि हुनेछ । तर, त्यसमा अबदेखि मेसी हुने छैनन् । उनले भनिसकेका पनि छन्, ‘फाइनल खेलेर विश्वकपबाट बिदा लिँदै छु । मेरो अन्तिम विश्वकप नै अबको फाइनल खेल हुनेछ । त्यसैले म खुसी छु ।’ लाख रुपैयाँको प्रश्न भने कायमै छ– के अर्जेन्टिनाले विश्वकप जित्ला ? कि फ्रान्सले जित्ला ?
अब धेरै कुर्नुपर्ने छैन । आइतबार फाइनल हुनेछ । खेल सकिनेबित्तिकै हामीले नयाँ विश्वकप विजेता पाउनेछौं । साँच्चै फ्रान्सले दोहोर्‍याएर विश्वकप जित्न पनि सक्छ । होइन भने अर्जेन्टिनाको पालो । भन्नेहरूले भनिसके– यसपल्टको कतार विश्वकप, मेसीको विश्वकप । अहिलेसम्म कतारमा कोही एक खेलाडी साँच्चै छाएका छन् भने ती मेसी नै हुन्, अरू होइनन् ।
यसपल्टको विश्वकपको कथा भन्नु नै मेसी हो । मेसी, मेसी र फेरि पनि मेसी । अहिलेको पुस्ताले देखेका विश्व फुटबलका सबैभन्दा ठूला स्टार दुई छन्– मेसी र क्रिस्टियानो रोनाल्डो । यी दुईमा को चाहिँ साँच्चै उत्कृष्ट खेलाडी हो ? एक दशकभन्दा बढी समय भइसकेको छ, यो प्रश्न विश्व फुटबल बजारमा उठेकै । अहिलेसम्म यसको यही उत्तर भन्ने पनि छैन । यसबारे जति मुख उति फरक तर्क हुन सक्छ ।
यो विश्वकपले यसको पनि ठ्याक्कै उत्तर दिन सक्नेछ । रोनाल्डो र पोर्चुगल दुवै प्रतियोगिताबाट बाहिरिइसके । रोनाल्डोको त अहिले कुनै क्लब पनि छैन । हल्ला छ, उनी रियल म्याड्रिड पुगिसके,
त्यहीं अभ्यास गरिरहेका छन्, के–के न हतारो भएजस्तो ! मेसी भने दोहामै छन् । त्यहाँ मस्त छन् । फाइनलको तयारी गरिरहेका छन् । रोनाल्डोको मनको कुनै कुनामा यो विचार त पक्कै होला– मेसीको टिम हारेकै राम्रो ।
रोनाल्डोसँग यही विचार मिल्ने पनि होलान्, तर अधिकको चाहना मेसीले यसपल्ट विश्वकप जितेर बिदा लिए राम्रो भन्ने नै हो । मेसीका पनि विरोधी छन् । सबैले मेसीलाई नै मन पराउनुपर्छ भन्ने पनि छैन । तिनकै मुखबाट पनि निस्किरहेको छ, अर्जेन्टिना टिमका लागि त होइन, तर मेसीले विश्वकप जितेको हेर्ने इच्छा छ । जस्तो स्पेनका प्रशिक्षक लुइस एनरिके । त्यसो त उनी मेसीसँग नजिककै सम्बन्ध भएकोमा पर्छन् ।
मेसीले बार्सिलोनाका लागि खेलिरहँदा एनरिके प्रशिक्षक पनि भए । उनी कतार आउनुअघि भन्थे, ‘म चाहन्छु, स्पेनले नै विश्वकप जितोस् । यदि स्पेनले जित्न सकेन भने अर्जेन्टिनाले जितोस् । मेसी जत्तिको खेलाडीले एकपल्ट त विश्वकप जित्नैपर्छ ।’ ब्राजिली रोनाल्डोले पनि भनिसकेका छन्– कम्तीमा मेसीले एकपल्ट विश्वकप जितेकै राम्रो । फेरि दोहोर्‍याएर भनौं, कतार विश्वकपको कथा भनेकै यही हो । तर, यो कथाले अझै अन्त्य भने कुरिरहेको छ ।
कथा मात्र होइन, यसको बाक्लो रूप उपन्यास, अझ नाटक, अनि सिनेमामा एक यस्तो पात्र हुने गर्छ, जसको वरिपरि अन्य सबै पात्र घुम्ने गर्छन् । यसैलाई भनिन्छ– ‘प्रोटागोनिस्ट’ । कथा, उपन्यास, नाटक र सिनेकामा मुख्य पात्र नायक पनि हुन सक्छन् । प्रोटागोनिस्ट त नायकभन्दा पनि ठूलो । फेरि प्रोटागोनिस्ट प्रायः सकारात्मक पात्रै हुने गर्छ । यही पात्रले पूरै घटनाक्रमलाई दोहोर्‍याउने गर्छ । उनकै अघि–पछि जोडिन्छन् घटना ।
प्रोटागोनिस्ट प्रायः भावनात्मक पनि हुने गर्छ । पूरै कथा, उपन्यास, नाटक र सिनेमा हेरेपछि प्रोटागोनिस्ट को हो, छुट्याउन गाह्रो हुन्न । मूल कुरो त्यसका लागि अन्त्य भने कुर्नुपर्छ । हामीले जुन विश्वकपको कुरा अहिले गरिरहेका छौं, त्यसमा मेसी त नायक भइसके । तर, प्रोटागोनिस्ट हुन भने बाँकी छ । अर्जेन्टिनाले विश्वकप जितेमा मेसी हुने त्यही हो, नत्र उनी वास्तवमै नायकमै सीमित हुनेछन् । अनि सबैले भन्ने यही हो, मेसीले
आफ्नो खेल जीवनमा कहिल्यै विश्वकप जितेनन् ।
प्रोटागोनिस्टको उल्टो भने एन्टागोनिस्ट हुन्छ । कतार विश्वकपको एन्टागोनिस्ट को ? सायद यसको उत्तर आइसकेको छ र ती हुन्– रोनाल्डो । एन्टागोनिस्ट प्रायः नकारात्मक पात्र हुने गर्छ । अचेल रोनाल्डोको राम्रो दिन चलिरहेको छैन । विश्वकप सुरु हुनुअघि मात्रै म्यानचेस्टर युनाइटेडले उनीसँगको सम्बन्ध तोड्यो । उनी म्यानचेस्टरमा के आए, पूरा टिम नै बिग्रियो भन्ने धेरै छन् । अनि उनकै कारण पोर्चुगलले राम्रो गर्न सकेन भन्ने पनि त छन् ।
यसको अर्थ यो भने होइन, रोनाल्डो नराम्रो खेल्छन् । उनी पनि महान् खेलाडी हुन् । रोनाल्डो जोडेर जति पनि तथ्यांक बाहिर आउने गर्छ, त्यसले छर्लङ्ग भन्छ– यी रोनाल्डो वास्तवमै कति उम्दा खेलाडी हुन भनेर । अन्तर्राष्ट्रिय फुटबलमा कोही कसैले सबैभन्दा बढी गोल गरेको छ भने ती रोनाल्डो हुन् । तर, एउटा तथ्य के निश्चित भइसकेको छ भने यी रोनाल्डोले पनि कहिल्यै विश्वकप जित्न सकेनन् । जित्न मात्र कहाँ हो र, त्यसको छेउछाउ पनि पुग्न सकेनन् ।

पेले र म्याराडोना पछ्याउँदै
विश्व फुटबलले अहिलेसम्म जति महान् खेलाडी पायो, त्यसमा पनि अब्बल भनेर दुई जनाको नाम आउँछ । एक त ब्राजिली पेले भए । अर्को अर्जेन्टिनी डिएगो म्याराडोना । प्रश्न के पनि छ भने पेले राम्रो कि म्याराडोना ? म्याराडोना त्यस्ता खेलाडी हुन्, जसले ‘मै सर्वश्रेष्ठ हुँ’ भन्न पछि परेनन् । जे होस्, विश्वकप भनेपछि साँच्चै अगाडि आउने दुई ठूला नाम पेले र म्याराडोना नै हुन् । मेसीसामु मौका छ, यी दुई नामसँगै आफू पनि जोडिने ।
अर्जेन्टिनाले पूर्णतः मेसीमा निर्भर भएर उनैलाई केन्द्रमा राखेर खेल्न थालेको अहिले होइन, धेरै भयो । बार्सिलोनाले त एक दशकभन्दा बढी समय यसरी नै खेलेको थियो । बार्सिलोना स्पेनी ला लिगामा मात्र होइन, युरोपेली च्याम्पियन्स लिगमा पनि चम्कँदा त्यसका प्रमुख खेलाडी तिनै मेसी त थिए । उनको उपचार खर्च पनि अर्जेन्टिनामै रहँदा नपुग्ने भएपछि पूरै परिवार धेरै अघि बार्सिलोना आएको थियो । त्यसपछि के भयो, त्यो सबैलाई थाहा भएको इतिहासै हो ।
पछिल्लो एक दशकभन्दा बढी समय बार्सिलोनाले स्पेन र युरोपमा जुन दबदबा कायम राखेको थियो, त्यसमा प्रोटागोनिस्ट मेसी नै थिए । मेसीले बार्सिलोनाका लागि के मात्रै जितेनन् ? ला लिगा, किंग्सकपदेखि च्याम्पियन्स लिग सबै । सातपल्ट बेलन डे’अर पनि जिते । तर, उनले यस्तै काम अर्जेन्टिनाका लागि गर्न सकेका छैनन् । गत वर्षको कोपा अमेरिका नै मेसीले अर्जेन्टिनाका लागि जितेको सबैभन्दा ठूलो उपाधि हो । त्यसअघि मेसीमाथि आरोप थियो, यिनले आफ्नो टिमका लागि केही जित्न सक्ने छैनन् ।
धन्न, कोपा अमेरिका जिते । अब पालो यही विश्वकपको । प्रतियोगितामा अर्जेन्टिनाको सुरुआत पनि राम्रो रहेन । साउदी अरेबियासँगको पहिलो खेलमै अर्जेन्टिना पराजित रह्यो । त्यसमा मेसीले पहिलो गोल त गरे, तर साउदी पनि के कम ! जितका लागि दुई गोल फर्काइदियो । फेरि भन्न सुरु भएको थियो, यी मेसीले केही गर्ने छैनन् । तर होइन, यसपल्ट मेसीले धेरै गरेका छन् । सम्भवतः उनी आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट विश्वकप खेलिरहेका छन्, त्यो पनि ३५ वर्षको उमेरमा ।
क्रोएसियाविरुद्धको सेमिफाइनलमा त मेसी खुबै छाए । अर्जेन्टिनाले हात पारेको तीन गोलको जितमा पहिलो गोल उनकै नाममा रह्यो । खेलको तेस्रो गोल त उनको नाममा थिएन, तर यो गोलको सबै श्रेय उनैले खाए । जुलियन एल्भारोको त्यस गोलमा मेसीले एकाएक जसरी जादुयी तरिकाले अवसर सिर्जना गरे, त्यो अद्वितीय थियो । उनले निकालेको पासमा एल्भारोको काम त खालि छुनु मात्रै थियो, उनले गरेको काम पनि यत्ति मात्रै थियो ।
यसपल्टको विश्वकपमा अर्जेन्टिनाले कुल १२ गोल गरिसकेको छ । त्यसमा पाँच गोल त मेसीकै नाममा छ । त्यति मात्रै होइन्, थप तीन गोलमा अवसर बनाउने पनि उनै थिए । मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सविरुद्ध पनि मेसीले कमाल खेले । उनले विश्वकप इतिहासमै ११ गोल गरिसके, जुन अर्जेन्टिनाका लागि कीर्तिमान पनि हो । तर, यसबीच सन् २००६ को विश्वकप फाइनल पनि पर्छ, जसमा मेसीको अर्जेन्टिना जर्मनीको हातबाट पराजित भएको थियो ।
ब्राजिलमा भएको त्यस विश्वकप अर्जेन्टिनाले जितेको भए मेसीबारे अहिले चलिरहेका बहस त्यहीबेलै सकिइसकेको हुन्थ्यो । त्यस फाइनलपछि खिचिएको एक तस्बिर खुबै चर्चित बनेको थियो, जसमा मेसीले खुबै विस्मात् ढंगले विश्वकपको ट्रफी हेरिरहेका थिए । त्यो एक तस्बिरले पूरा विश्वकपको एउटा मूल कथा भनिरहेको थियो । मेसीलाई फेरि एकपल्ट मौका आएको छ, विश्वकप जित्ने । जिते पेले र म्याराडोनापछि आउने नाम मेसी हुनेछ ।

फ्रान्स अनि एम्बापे
कतार विश्वकपको कथा यत्तिकैमा टुंगिन्न । यसले अर्को मोड पनि लिन सक्छ । मेसीलाई सबैखाले जस पाउने कामबाट कसैले रोक्न सक्छ भने त्यो फ्रान्स नै हो । अनि फ्रान्सेली टिमका प्रमुख खेलाडी हुन्– केयलिन एम्बापे । मेसीजस्तै उनी पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडी हुन् । पीएसजीमा ब्राजिलका नेयमार पनि छन् । ब्राजिल त क्वाटरफाइनलमै रोकियो, त्यसैले नेयमारको कुरा त्यहीं सकियो । फाइनलमा भने मेसी पनि पुगे, एम्बापे पनि ।
मेसी भर्सेस एम्बापे, अबको फाइनललाई यही रूप दिने प्रयास पनि भइरहेको छ । यी एम्बापेको ज्यान खुबै खाइलाग्दो छ । उनको पनि खेल कौशलता कम्तीको छैन्, तीव्र गतिमा खेल्छन्, बलमाथि उत्तिकै नियन्त्रण पनि राख्छन् । उस्तै परे उनी एकैपल्ट चार/पाँच प्रतिद्वन्द्वी डिफेन्डरलाई मज्जाले काट्न सक्छन् । अनि उत्तिकै महत्त्वपूर्ण कुरा, पीएसजीमा नेयमारको तबल मेसीको भन्दा बढी हो । फेरि यी युवा पनि छन्, भर्खर २३ वर्ष लागे ।
भने पनि हुन्छ, उनले अझै थप तीन विश्वकप खेल्न सक्नेछन् । अहिले दुईपल्ट खेल्दा नै एकपल्ट च्याम्पियन भइसके । चार वर्षअघि रुसमा भएको विश्वकप जित्ने फ्रान्स नै थियो र त्यही बेला १९ वर्षीय ठिटो खेलाडीका रूपमा उनको जबरजस्त उदय भएको थियो । कतारमा उनले पनि पाँच गोल गरिसके । मेसीजस्तै उनी पनि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने होडमै कायम छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्न पनि उनको प्रदर्शन लायकै छ ।
फ्रान्सले विश्वकप जित्नेछ भन्ने दृष्टिकोणले सोच्दा नायक हुने एम्बापे नै हो । जम्माजम्मी २३ वर्षका खेलाडी, तर विश्वकप दुईपल्ट जितिसकेको प्रदर्शन हुन सक्नेछ । त्यस्तो भयो भने एम्बापेलाई छुने कसले ? फ्रान्सले साँच्चै विश्वकप जित्यो भने विश्व फुटबलको एउटा युग मात्रै सकिने छैन, अर्को नयाँ युगको पनि सुरुवात हुनेछ र यसका नायक हुने छन्, एम्बापे । त्यसपछि विश्व फुटबलको इतिहास लेख्न सुरु हुनेछ, एम्बापेलाई केन्द्रमा राखेर ।
यो स्थितिमा मेसी र रोनाल्डोभन्दा बारम्बार दोहोरिएर आउने नाम एम्बापे हुनेछ । विश्वकप सुरु हुनुअघिसम्म डिफेन्डिङ च्याम्पियन भए पनि फ्रान्सलाई धेरैले भाउ दिइरहेका थिएनन् । तर, फ्रान्सले आफ्ना अधिकांश आलोचकको मुख बन्द गरेको छ । फ्रान्सले अस्ट्रेलिया, ट्युनेसिया र डेनमार्क भएको समूह जितेको हो । अनि फाइनल पुग्ने क्रममा पोल्यान्ड, इंग्ल्यान्ड र मोरक्कोको चुनौती काटेको हो । भनेपछि फ्रान्सको प्रदर्शन पनि दमदार छ ।
फेरि मेसीकै भनाइमा फर्कने हो भने उनी भन्थे, ‘पछिल्ला केही वर्ष म फुटबलबाट खुबै रोमाञ्चित छु । अर्जेन्टिनाका लागि जे जस्तो भइरहेको छ, त्यो खुबै खुसी दिने खालको छ । विश्वकपको फाइनल पुग्नु पनि आफैंमा ठूलो छ । हामीले जे जस्तो खेलिरहेका छौं, विश्वास छ, त्यसमा अर्जेन्टिनी समर्थक पनि खुसी छन् । तिनले हाम्रो खेलमा शंका गर्नु पर्दैन ।’ मेसीमाथि शंका कसैको पनि छैन । कसले शंका गर्न सक्छ उनी जत्तिका खेलाडीलाई ?
निचोड त्यही हो, मेसीसामु ठूलै अवसर छ । नायकभन्दा पनि ठूलो नायक हुने । त्यसो भनेको त्यही प्रोटागोनिस्ट । र, उनले अर्जेन्टिनाका लागि विश्वकप जित्न सक्नुपर्छ । यस्तो भए, यो बेजोड अवसर हुनेछ, निकै भावनात्मक पनि । पराजित रहे सबैले मेसीलाई सम्झने भनेको दुईपल्ट फाइनल खेलेर पनि जित्न नसक्ने खेलाडी भनेरै हो । यस्तो स्थितिमा विश्व फुटबलमा एम्बापेसहितको नयाँ युग सुरु हुनेछ । मेसी र रोनाल्डोजस्ता बूढा खेलाडी बिस्तारै ढिलो–चाँडो कम्तीमा मैदानबाट हराएर जानेछन् ।

 

कोसेली

मनको जाली चुम्ने गोलहरू

- डा. सुमनराज ताम्राकार

 


एक गोल । मात्र एकै गोलको फरक त हो नि ! किन एक गोलले दर्शकका आँखामा ग्लिसरिन छरेर जान्छ ? किन कुनै एक गोलले मान्छेलाई नाइट्रस अक्साइड सुँघाएझैं हुन्छ ? किन १९२ वर्ग फिटको गोलपोस्टमा केवल ८.६६ इन्च व्यासको भकुन्डो छिर्दा विश्वभरका करोडौं दर्शकको शरीरमा एड्रिनालिन सर्ज हुन्छ ? र, विश्वका फरक भूगोलमा रहेका ती एकैसाथ टोल, चोक, सहरै थर्किने गरी गो ऽऽ.....ल भनेर चिच्याउँछन् ? ‘गोल’ अब ग्लोबल शब्द बनेको छ ।
फुटबलमा गोल नै हो मानक । कुन फरवार्डले बल कति खेलाए ? कति छलाए ? त्यो ठूलो विषय होइन । गोल नै हो मुख्य । एक्सन होइन रिजल्ट हेरिन्छ फुटबलमा । कति गोल भयो ? कसले गोल गर्‍यो ? जसले जति धेरै गोल गर्‍यो, उसैलाई हो प्रशिक्षकले छान्ने, क्लब एवं राष्ट्रका मालिकले पैसा खन्याउने । एक गोलमा त्यस्तो के छ, जसले दर्शक रन्थन्याउँछ ? कतार विश्वकपले बिट मार्नै लागेको यो बेला अघिल्ला विश्वकपका केही त्यस्ता गोलको चर्चा गरौं, जुन दर्शकका मस्तिष्कमा सधैं बाँचिरहेको छ ।
लाग्छ, लुसियन लरेन्ट जहाँ खडा हुन्छन्, लाइन त्यहीँबाट सुरु हुन्छ । सन् १९३० को पहिलो विश्वकपमा फ्रान्सका लुसियन लरेन्टले मेक्सिकोविरुद्ध गरेको पहिलो गोल
धेरैको सम्झनामा छ । सेमिफाइनलसम्म पुग्दा यो कतार विश्वकपमा मात्रै १६३ गोल भइसकेको छ । केही
गोल सधैं सम्झनामै रहनेछन् । यसअघि १०० औं गोल इटालीका एन्जेलो स्काभियो (१९३४ विश्वकप), १००० औं गोल नेदरल्यान्डका रोब रेन्सेनब्रिन्क
(१९७८ विश्वकप) र २००० औं गोल स्विडेनका मार्कुस आल्बाकले (२००६ विश्वकप) गरिसकेका छन् ।
५०, ५५ यार्ड टाढाको सेन्टरबाट गोल दाग्न कतिबेर लाग्ला ? २००२ को विश्वकपमा टर्कीका हाकन सुकरले दक्षिण कोरियाविरुद्ध तिनीहरूकै भूमिमा केवल ११ सेकेन्डमै गोल गरे । एकातिर यति छिटो गोल हुन सके पनि कतार विश्वकपको समूह चरणसम्म ७४ खेल गोलरहित बराबरीमा टुंगिएका छन् । जबकि निकै ढिलो सही, अर्थात् इटालीका एलेस्सान्द्रो डेल पियारोले जर्मनीविरुद्ध २००६ को विश्वकपमा तथा अल्जेरियाका अब्देलमौमेने जाबाउले जर्मनीविरुद्ध नै २०१४ को विश्वकपमा सान्त्वना गोल गरे खेलको १२१ औं मिनेटमा । त्यसो त १९९० को विश्वकप हालसम्मकै निराश विश्वकप मानिन्छ । किनकि त्यस प्रतियोगिताभर केवल ११५ गोल अर्थात् २.२१ गोल प्रतिखेल भएको थियो जबकि १९५४ को विश्वकपमा ५.३८ गोल प्रतिखेल भएको थियो ।
पेनाल्टी, ह्याट्रिक, आत्मघाती, भली, बाइसाइकल किक, फ्रिकिकजस्ता शब्द गोलसँगै जोडिएर आउँछ । रेगुलर समयको ९० मिनेटमा सालाखाला ७,१४० वर्ग मिटरको मैदानभित्र जति चर्तिकला हुन्छ, त्यसको ध्येय विपक्षीको पोस्टमा गोल दाग्नु नै हो । पेनाल्टीमा संसारको एक्लो मानिस कोही हुन्छ भने उही गोलकिपर हो । संसारका कसैले पनि उसलाई सघाउन सक्दैन । १८० डिग्री कोणमा पेनाल्टी दाग्न बसेको खेलाडीको मस्तिष्कमा के कुरा खेल्छ होला ? कतै रोबर्टो बाज्जियो, ट्रेजेगुएटको सूचीमा आफ्नो नाम पनि समावेश हुने त होइन ? रेगुलर समयमा त पेनाल्टी मिस गर्न छुट छैन भने ट्रफी नै पोल्टामा पार्ने, नपार्ने निर्णायक घडीमा कसरी मिस गर्न मिल्छ ? तीसौं, पैतीसौं यार्डबाट पनि सहज लाग्ने त्यो गोल केवल १२ यार्ड दूरीको पेनाल्टी स्पटबाट असाध्यै कठिन लाग्छ ।
१९७८ देखि लगातार विश्वकप खेल्दै आएका रुस्टर उपनामले परिचित ब्राजिलका जिकोले १९८६ को विश्वकपमा फ्रान्सविरुद्धको क्वार्टरफाइनल खेलको दोस्रो हाफमा पेनाल्टी मिस गरे । योभन्दा तनाव त १९९४ को विश्वकपमा भयो । प्रि–क्वार्टरफाइनलमा नाइजेरिया, क्वार्टरफाइनलमा स्पेन र सेमिफाइनलमा बुल्गेरियाविरुद्ध निर्णायक गोल गरी इटालीलाई पाँचौंपल्ट फाइनलमा पुर्‍याएकाले रोबर्टो बाज्जियोको इटालियनहरूले देवत्वकरण गरेका थिए । तर, तिनै आशा, विश्वासका प्रतीक बाज्जियोले ब्राजिलसँगको पेनाल्टी सुटआउटको निर्णायक पेनाल्टी मिस गरे र एकाएक खलनायकमा बदलिए । लामो समयसम्म बाज्जियो डिप्रेसनबाट गुज्रिए र प्रोफेसनल करिअर पनि समाप्त भयो ।
यस्तै हाल भयो २००६ को विश्वकपमा फ्रान्सका डेविड ट्रेजेगुएटको । त्यसअघि युरो २००० फाइनलमा विजयी गोल गरेका ट्रेजेगुएटले इटालीविरुद्धको पेनाल्टी सुटआउट मिस गरे । घानाका आसामोह ग्यानलाई सोध्नुस् न कति पीडादायी थियो त्यो पेनाल्टी मिस ? २०१० को विश्वकपमा घाना र उरुग्वेबीचको क्वार्टरफाइनल खेलमा थप समयको इन्जुरी समयमा घानाका आदिइयाहले हेड गरेको बल निश्चित रूपमा गोलमा परिणत हुनेवाला थियो । उरुग्वेका गोलरक्षक बिट भइसकेको अवस्थामा गोललाइनमा रहेका स्ट्राइकर सुआरेजले दुवै हातले भलिबल खेलेजस्तै बललाई पन्च गरे र मैदानतिर फर्काईदिए । यसरी गोल हुन पाएन । सुआरेजले रातो कार्ड पाए र बाहिरिए । त्यो गोल भएको भए २०१० को विश्वकपमा घाना मात्रै नभई सारा अफ्रिकनको सफलताको कथा अर्कै तवरले लेखिने थियो । सुआरेजको ह्यान्डबलका कारण प्राप्त पेनाल्टीलाई ग्यान (२००६ को विश्वकपमा चेकोस्लोभाकियाविरुद्ध पेनाल्टी मिस गरिसकेका) ले गोलमा परिणत गर्न सकेनन् । र, लगत्तैको पेनाल्टी सुटआउटमा उरुग्वेको जित भयो ।
फुटबल खुट्टाको चर्तिकला हो । गोलपोस्टको १८ यार्डभित्र गोलकिपरबाहेक अन्य खेलाडीले हातले बल छुन पाउँदैनन् । तर, सुआरेजले जस्तै, तर त्योभन्दा ठीकविपरीत १९८६ को विश्वकप सेमिफाइनलमा इंगल्यान्डविरुद्ध डिएगो म्याराडोनाले गरेको पहिलो हाते गोल गैरकानुनी भएर पनि त्यो गोललाई ‘ह्यान्ड अफ गड’ भनियो । सोही खेलमा म्याराडोनाले नै पाँच जना इंग्लिस खेलाडीलाई छक्याएर गरेको दोस्रो गोललाई गोल अफ सेन्चुरीको भोटिङ गरियो । यसरी इंगल्यान्डलाई एकका विरुद्ध दुई गोलले पाखा लगाई अघि बढेको अर्जेन्टिना सेमिफाइनलमा बेल्जियम र फाइनलमा पश्चिम जर्मनीलाई हराई दोस्रो पटक विश्व च्याम्पियन बन्यो । त्यसपछि नै हो पेलेपछि म्याराडोनाले नेम, फेम सारा चीज कमाए ।
उच्चस्तरीय क्लबमा गरिएको एक अध्ययनले भन्छ– पेनाल्टीमा गोल हुने सम्भावना केवल ७० प्रतिशत मात्रै हुन्छ । सबै पेनाल्टी कहाँ गोल बन्छन् र ? विश्वकप फुटबलको परिदृश्यमा सर्जियो गोएकोचिया, वाल्टर जेंगाजस्ता पात्र पनि छन् । १९९० को विश्वकपको अर्जेन्टिनी टोलीमा रेगुलर गोलरक्षक नेरी पम्पिडो घाइते भएकाले त्यस स्थानमा आएका गोएकोचियाले क्वार्टरफाइनलमा युगोस्लाभिया र सेमिफाइनलमा आयोजक राष्ट्र इटालीका खेलाडीको पेनाल्टी छेकेका थिए । पेनाल्टी मिसको पीडा चिरकालसम्मै काँडाजस्तै बिझ्छ । २०१८ को विश्वकपको अन्तिम प्रि–क्वार्टरफाइनल खेल समान एक–एक गोलमा सकियो । त्यसपछि इंगल्यान्ड भर्सेस कोलम्बियाको पेनाल्टी सुटआउटमा कोलम्बियाका उरिबे र बाक्काले गोल गर्न नसकेकाले इंगल्यान्डले तीनविरुद्ध चार गोलले जित्यो । त्यसअघि पेनाल्टी सुटआउटमा इंगल्यान्डले कहिल्यै जितेको थिएन । सायद त्यसैले युरो १९९६ को सेमिफाइनलमा निर्णायक पेनाल्टी गोल गर्न नसकेका गारेथ साउथगेट (इंगल्यान्डका प्रशिक्षक) ले पेनाल्टी मिस गरेका कोलम्बियन खेलाडीलाई सहानुभूति दिइरहेका थिए ।
पहिलोचोटि मेक्सिकोका म्यानुएल रोजासले चिलीविरुद्धको खेलमा आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए । विश्वकप इतिहासमा हालसम्म ५४ वटा आत्मघाती गोल भए । १९९४ को विश्वकपमा कोलम्बियाका आन्द्रेयास इस्कोबारको आत्मघाती गोल निकै महँगो साबित भयो । उक्त गोलसँगै कोलम्बिया समूह चरणबाट बाहिरियो भने घर फर्केपछि इस्कोबारको हत्या भयो ।
कतार विश्वकपमा सर्बियाविरुद्धको खेलमा ब्राजिलका रिचार्लिसनले गरेको दोस्रो गोल हेरेर तपाईंको आँखीभौं उचालिएन ? पेले सम्झिन्छन् ‘मैले गरेको १२८३ गोलमध्ये त्यस्तै ३, ४ पटक मात्रै त्यसरी गोल गरें हुँला । माराकाना स्टेडियममा बेल्जियमविरुद्ध १९६५ मा मैले गरेको त्यस्तो गोललाई बाइसाइक्लेटा डु पेले नै नाम दिइएको थियो ।’ फुटबल पण्डितहरूका अनुसार, बढीजसो ब्राजिलियनले गर्ने त्यस्तो गोल ५४० मा एक मात्रै सम्भव छ । ब्राजिलका लियोनिदास दा सिल्भाले चेकोस्लोभाकियाविरुद्ध १९३८ को विश्वकपमा, पेलेले स्वीडेनविरुद्ध १९५८ को विश्वकपमा, कार्लोस अल्बर्टोले इटालीविरुद्ध १९७० को विश्वकपमा, नेलिन्होले इटालीविरुद्ध १९७८ को विश्वकपमा, रोनाल्डिन्होले इंगल्यान्डविरुद्ध २००२ को विश्वकपमा बाइसाइकल किक गोल गरेका थिए । क्लबस्तरीय फुटबलमा मेस्सी, रोनाल्डो, वायने रुनी, ज्लाटान इब्राहिमोभिच, मार्को भान बास्टेनले पनि बाइसाइकल किकबाटै गोल गरेका छन् ।
अब फ्रिकिक गोलको कुरा गरौं । ब्राजिलका मिडफिल्डर रोबर्टो कार्लोसले २००२ को विश्वकपमा चिलीविरुद्ध गरेको फ्रिकिक गोलका क्रममा गोलपोस्ट पछाडिका धेरै दर्शक भागभाग गरे । तीव्र गतिको बलले जाली नै च्यातिएलाझैं भयो ।
इंगल्यान्डका डेभिड बेकह्यामको पहिलो र अन्तिम गोल नै फ्रिकिकबाट भएको थियो । १९९८ को विश्वकपमा डेब्यु गरेका बेकह्यामलाई ट्युनिसिया र रोमानियाविरुद्धको इंगल्यान्डका सुरुवाती दुई खेलमा बेन्चमा राखियो, तर तेस्रो खेलमा बेकह्यामले कोलम्बियाविरुद्ध कर्ली (घुमाउरो पाराको) दर्शनीय गोल गरे । त्यसैले पनि कतिपय फ्रिकिक गोललाई ‘बेन्ड इट लाइक बेकह्याम’ को दर्जा दिइन्छ । उनै बेकह्यामले २००६ को विश्वकपको क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध फ्रिकिक गोल गरे । त्यो नै उनको विश्वकपको अन्तिम गोल साबित भयो । क्वार्टरफाइनलमा पोर्चुगलसँग पराजित भएसँगै कप्तानीबाट राजीनामा दिएका थिए ।