You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

वीर, शिक्षण, कान्तिमा मात्रै ९ हजारबिरामी शल्यक्रियाको पालो कुर्दै

- प्रशान्त माली

(काठमाडौं)
वीर अस्पतालका १७ अपरेसन थिएटरमध्ये ९ वटा मात्र सञ्चालनमा छन् । शल्यक्रिया गरेपछि बिरामी राखिने पोस्ट सर्जिकल वार्डका बेड धूलोले छपक्कै ढाकिएका छन् । अस्पतालको सेवा चुस्तदुरुस्त नहुँदा शल्यक्रिया गराउन पालो कुर्नेको संख्या प्रत्येक दिन बढ्दो छ । दुई वर्षदेखि शल्यक्रिया गराउन पालो कुरिरहेका बिरामी ३ हजार नाघिसकेका छन् ।
िि
िकान्ति बाल अस्पतालको अपरेसन थिएटर २७ वर्ष पुरानो हो । उपकरण चुस्तदुरुस्त छैनन् । तीनवटा थिएटरमध्ये स्थान अभावका कारण ‘पासेज’मा राखेर पनि शल्यक्रिया गर्ने गरिएको छ । कान्तिमा पनि शल्यक्रियाको पालो कुरिरहेका संख्या ३ हजारभन्दा बढी छ ।
िि
ित्रिवि शिक्षण अस्पताल ३ सय बेडबाट सुरु गर्दा ८ वटा अपरेसन थिएटर सञ्चालनमा थिए । अहिले बेड संख्या बढेर ८ सय ५० पुगिसक्दा पनि थिएटर भने १९ वटा मात्र छन् । अस्पतालले क्यान्सरका बिरामीलाई लक्षित गरेर तत्काल ३ वटा थिएटर थप्ने योजना बनाए पनि थप्न सकेको छैन । अस्पतालमा ३ हजार ५ सय जना शल्यक्रिया गराउन पालो कुरिरहेका छन् ।
िि
िठूला अस्पतालका अपरेसन थिएटरको दुरवस्था छ । स्वास्थ्य मन्त्रालयका अधिकारी उपकरण थप्न आवश्यक बजेट माग गर्न सकिने बताउँछन्, तर अस्पतालले न थिएटर थप्न पहल गर्छन् न त बन्द उपकरण सञ्चालनमा ल्याउन ।
वीरमा सिन्धुपाल्चोकका ३५ वर्षीया रवि कार्की एक वर्षदेखि पित्तथैलीको पत्थरी शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । पेट दुखेर गत वर्ष अस्पताल पुगेका भरतपुरका कुमार खनालको भने १३ मिलिमिटरको पत्थरी देखियो, उनको अझै शल्यक्रिया भएको छैन । काभ्रेका सन्तोष केसी ढाडमा नसा च्यापिएर एक वर्षदेखि शल्यक्रियाका लागि पर्खिइरहेका छन् । केसी भन्छन्, ‘रोग पालेर बस्नुपरेको छ, थेरापीका भरमा छु ।’
वीरको ५ सय बेडको सर्जिकल भवन २०७८ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । अझै पनि पूरै बेड सञ्चालनमा आउन सकेको छैन । पुरानो भवनमा रहेको डेन्टलको अपरेसन वार्ड र न्युरो सर्जरी विभाग नयाँ भवनमा सार्न सकिएको छैन । कार्डियोथोरासिक विभाग प्रमुख डा. किरण श्रेष्ठले थिएटर अभावका कारण शल्यक्रिया गर्न एउटा युनिटले सातामा दुई दिन मात्र बेड पाउने गरेको बताए । ‘सातै दिन पाउने व्यवस्था मिलाउन नसकेसम्म बिरामीले कुर्नुपर्ने समस्या हट्दैन,’ उनले भने । वीर अस्पतालका सूचना अधिकारी सागर मिश्र बिरामीको चापअनुसार थप १५ वटा थिएटर आवश्यक रहेको बताउँछन् ।
वीरका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल पूरै थिएटर सञ्चालन नहुनुमा नर्सिङ जनशक्ति अभावको कारण देखाउँछन् । ‘सर्जरीका लागि चिकित्सकको अभाव छैन,’ उनले भने, ‘लोक सेवा आयोगले ३ सय स्वास्थ्यकर्मीको विज्ञापन निकालिसकेको छ, अब परीक्षा हुन्छ । कर्मचारी पठाएको भोलिपल्टै सञ्चालनमा ल्याउँछौं ।’
वीरमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत छन् । हाल न्याम्सअन्तर्गत ५ सय ६३ जना छन् भने सामान्य प्रशासन मन्त्रालयअन्तर्गत ६ सय ८७ जना कार्यरत छन् । जनस्वास्थ्यविद् प्रा.डा. ढुण्डीराज पौडेल अधिकांश डाक्टर कार्यालय समयसम्म नबसेका कारण समस्या बढेको तर्क गर्छन् । ‘कार्यालय समयमा पनि बस्दैनन् र समयमा पनि कार्यालय आउँदैनन् । बढी क्लिनिक र निजी अस्पतालमा व्यस्त हुन्छन्,’ उनले भने । छानबिन गरी कारबाहीको दायरामा नल्याएसम्म समस्या दिगो रूपमा समाधान नहुने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले अस्पताल प्रमुखले कडाइका साथ नियम पालना गर्न नलगाउँदा समस्या भएको बताए । ‘सबै कर्मचारीलाई आउँदा जाँदा विद्युतीय हाजिरी गराउनुपर्‍यो । कार्यालय समयसम्म नबस्ने कर्मचारीलाई कारबाही गर्नुपर्‍यो,’ उनले भने, ‘ठूला अस्पतालको ओएन्डएम सर्भे स्वीकृति गर्न अर्थ मन्त्रालयमा पठाइसकेका छौं ।’
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले उपकरण मात्र थपेर नहुने बताए । ‘जनशक्ति व्यवस्थापन गर्न त्रिभुवन विश्वविद्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन,’ उनले भने, ‘२०४० सालमा सिर्जना गरिएको २ सय ५० जना चिकित्सक दरबन्दीमध्ये ९७ जना, प्रशासनतर्फ २ सय ७८, प्राविधिकतर्फ १ सय ५ जना रिक्त छन् ।’ अस्पतालमा हाल १ हजार २ स्वास्थ्यकर्मी करारमा कार्यरत छन् ।
कान्ति बाल अस्पतालमा पनि पर्याप्त अपरेसन थिएटर छैनन् । विशेष गरी त्यहाँ पुग्ने जन्मजात मलद्वार नखुलेका, ठूलो आन्द्रा, लिंगको प्वालको समस्या भएका र पत्थरीका बिरामी बढी मर्कामा छन् । वीरगन्जकी ६० वर्षीया जाकुरिसी मियाँले नातिको मलद्वार खुलाउन गरिने अपरेसनका लागि कुरेको दुई वर्ष बितिसक्यो । मिति सार्दासार्दै फागुन १ गते तोकिए पनि पुनः अर्को दिनका लागि सारिएको छ । लिंगमा पिसाब फेर्ने प्वालको समस्या भएर वैशाखमा शल्यक्रिया गराउन आएका बुटवलका चौधरी दम्पतीको ५ वर्षका छोराको पनि अझै शल्यक्रिया हुन सकेको छैन ।
कान्तिका निर्देशक डा. युवानिधि बसौलाले उपकरण, अपरेसन थिएटरसँगै आवश्यक जनशक्ति नभएका कारण सेवा दिन नसकेको बताए । अस्पतालमा प्रमुख कन्सल्टेन्ट पेडियाट्रिक सर्जन, प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिक सर्जन गरेर ७२ जनाको पद रिक्त छ । अस्पतालमा मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसी अधिकृत, बायोमेडिकल टेक्निसियन, ब्लड बैंक र ल्याब टेक्निसियनलगायत ९९ जना करारमा कार्यरत छन् ।

अस्पतालका सर्जरी विभाग प्रमुख डा. विजय थापा उपचारमा आउनेमध्ये करिब ८५ प्रतिशतको शल्यक्रिया आवश्यक पर्ने बताउँछन् । ‘शल्यक्रिया सहज बनाउन उपकरण चुस्तदुरुस्त बनाउन र नयाँ ३ वटा थिएटर थप्न आवश्यक छ,’ उनले भने ।
पाटन अस्पतालमा डेन्टलको सर्जरी सातामा एक दिन मात्र हुन्छ । अस्पतालमा बिरामीको चापअनुसार अपरेसन थिएटर आधा कम १२ वटा मात्र सञ्चालनमा छन् । यसले पत्थरी जस्ता सामान्य शल्यक्रिया गराउन पनि महिनौं कुनुपर्ने बाध्यता छ । अहिले अस्पतालमा एक सातादेखि ६ महिनासम्मका एक हजार ५ सय बिरामी शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । सर्जरी विभाग प्रमुख डा. पुकार मास्केले बिरामीको चापअनुसार थप १२ वटा थिएटर आवश्यक रहेको बताए ।
राष्ट्रिय ट्रमा सेन्टरमा ५ वटा थिएटर सञ्चालनमा छन् । अस्पतालका सूचना अधिकारी अर्जुन भेटवालका अनुसार शल्यक्रिया सहज बनाउन थप ५ वटा आवश्यक छ । ‘तर, स्थान अभावका कारण व्यवस्थापन गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘हालको ट्रमा भवनमा न तला थप गर्न मिल्छ न त विस्तार गर्न जग्गा नै छ ।’ अस्पतालमा दुई हजार जनाभन्दा बढी बिरामी शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । ट्रमामा दैनिक १५ जनाको शल्यक्रिया हुने गरेको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सात सय जनाभन्दा बढी प्रत्यारोपण गराउन पालो कुरिरहेका छन् । अस्पतालमा ४ वटा अपरेसन थिएटर मात्र सञ्चालनमा छन् । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण सहज बनाउन सातै प्रदेशमा विस्तार गर्नुको विकल्प नभएको बताए । ‘प्रत्येक वर्ष दुई हजारदेखि ३ हजार नयाँ बिरामी थपिरहेका छन्,’ उनले भने ।
प्रसूति गृहमा ६ वटा मात्र अपरेसन थिएटर सञ्चालनमा छन् । निर्देशक डा. पवनजंग रायमाझीले भवन अभावका कारण जेनतेन सञ्चालन गरिरहेको बताए । ‘भूकम्पले चर्केको भवनमा उपचार दिनुपरेको छ,’ उनले भने, ‘भवन बनाइदिनुपर्‍यो भन्दा सम्बन्धित निकायले वास्ता गर्दैनन् ।’
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापण्दड निर्देशिका २०७० को दफा १७ मा व्यवस्था भएअनुसार प्रति ५० शय्या क्षमता बराबर एउटा मेजर र एउटा माइनर अपरेसन थिएटरको व्यवस्था हुनुपर्छ । सोका अतिरिक्त प्रत्येक २५ शय्या सर्जिकल बेडका लागि एक मेजर ओटी र आवश्यक माइनर ओटीको थप व्यवस्था हुनुपर्ने नियम छ ।

मुख्य पृष्ठ

लामिछानेलाई सर्वोच्चबाट 'राहत’, मुद्दा फास्ट ट्र्याकमा

- जयसिंह महरा

(काठमाडौं)
नाबालिक बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा लडिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले खेलका लागि विदेश जाने अनुमति दिएको छ । जिल्ला अदालतले थुनामा पठाए पनि उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको थियो । उच्चको आदेशलाई सदर गर्दै सर्वोच्चले क्रिकेट खेल्न विदेश जान पासपोर्ट फुकुवाको आदेशसमेत दिएको छ  ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले पक्ष र विपक्षबाट दुई दिन बहस सुनेपछि सोमबार आदेश सुनाएको हो । पीडित र लामिछाने ‘सहज रूपमा नगरकोट गएको, फर्केर काठमाडौंको होटलमा गएको, बाहिरिएको र लामिछानेले पीडितलाई होस्टेलमा छाडेको लगायत आधारमा’ पुनः थुनामा पठाउनुपर्ने अवस्था नरहेको आदेशमा उल्लेख छ ।
यो गौशाला २६ नाम दिइएकी बालिकामाथि बलात्कारको मुद्दा हो । नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरीलाई नाबालिग भन्छ र उक्त उमेर समूहभित्रका बालिकासँग सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार मान्ने कानुन छ । गौशालालाई सर्वोच्चले नाबालिगका रूपमा सम्बोधन गरेको छैन तर त्यसको आधार के हो भन्ने विषय खुलेको छैन । सुनुवाइ बन्द इजलासमा भएकाले पूर्ण आदेश सार्वजनिक गरिएको छैन भने सर्वोच्चका प्रवक्ताले आदेश खण्डमात्र सुनाएका छन्, जहाँ बालिग/नाबालिगसम्बन्धी प्रसंग छैन ।
जिल्ला अदालतले लामिछानेलाई थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले उनलाई विदेश जान नपाउने गरी धरौटीमा छाडेको थियो । उच्चको आदेशसँगै लामिछानेलाई रिहा गर्दै गृह र परराष्ट्र मन्त्रालयले उनको पासपोर्ट भने रोक्का राखेका थिए ।
‘विदेशमा रहेका बेला उजुरी परी अनुसन्धान हुँदा पनि लामिछानेले स्वदेश फर्किई न्यायिक प्रक्रियामा सहयोग गरेको देखिएकाले आगामी दिनमा पनि क्रिकेट खेल्न विदेश जान दिनू,’ सर्वोच्चको आदेशमा छ । ‘प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएकाले देशभित्र र विदेशमा समेत अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा भाग लिन जानुपर्ने देखिएको हुँदा विदेश जान नपाउने गरी उच्च अदालतले गरेको आदेश बदर गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

‘निज प्रतिवादी सन्दीप लामिछानेलाई विदेशमा सहभागी हुनुपर्ने क्रिकेट खेलमा विदेश जान दिनू, दिलाउनू एवं निजको राहदानी रोक्का भएको भए फुकुवा गरिदिनू भनी सम्बन्धित निकायमा लेखी पठाउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
लामिछानेलाई विदेशमा खेल्न गएको अवस्थामा खेल समाप्त भएर (हवाईजहाजमार्फत) स्वदेश फर्कन लाग्ने म्यादबाहेक १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित भई स्वदेश फर्किएको जानकारी दिनू पनि भनिएको छ । सर्त उल्लंघन गरेमा विदेश जानका लागि दिएको छुटको सुविधा फिर्ता लिने पनि आदेशमा उल्लेख छ ।
सर्वोच्चले लामिछानेविरुद्धको मुद्दालाई फास्ट ट्र्याकबाट किनारा लगाउन पनि आदेश दिएको छ । ‘प्रस्तुत मुद्दा जबर्जस्ती करणीको अभियोगसम्बन्धी भएको र प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलाडी भई सार्वजनिक चासोको विषय भएकाले फास्ट ट्र्याकबाट निरन्तर सुनुवाइ प्रक्रिया अवलम्बन गरी छिटो कारबाही गर्न भनी काठमाडौं जिल्ला अदालतलाई जानकारी दिई नियमअनुसार गर्नू’ आदेशमा भनिएको छ ।
उच्चले लामिछानेलाई धरौटीमा छाडेपछि थुनामा नै पठाउनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदनको सुनुवाइ गर्दर् ैइजलासले भनेको छ, ‘पीडितले आफूलाई प्रतिवादीले दुई पटक करणी गरेको र निजले
ट्वाइलेटको टिस्यु पेपर मुखमा
फ्याँकेको भनी व्यहोरा उल्लेख भए तापनि प्रतिवादीको वीर्ययुक्त तथ्यगत प्रमाण नभएको’ उल्लेख गरेको छ ।
त्यस्तै ‘पीडितको योनीमा सिमेन वा स्पर्म (वीर्य) फेला नपरेको’ विषयलाई पनि अदालतले आदेशमा उल्लेख गरेको छ । लामिछानेले भदौ ५ मा काठमाडौंको एक होटलमा लगेर राति दुई पटक जबर्जस्ती करणी गरेको भन्दै नाबालिगले भदौ २१ मा गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् ।
त्यस्तै ‘भदौ ५ बिहान पीडित प्रतिवादीले चलाएको गाडीमा चढी पीडितको होस्टेल अगाडि गई गाडीबाट ओर्लेको, सीसीटीभी फुटेजमा पीडित र प्रतिवादी होटलमा सहजताका साथ आएको र गएको’, ‘घटनास्थलमा कागज गर्ने व्यक्तिहरूले वारदात सञ्चारमाध्यमबाट सुनेकोले थाहा पाएको भनी व्यहोरा खुलाएको’ पनि इजलासले उल्लेख गरेको छ ।
‘पीडितको रुममेटको रूपमा रहेकी साथीको बकपत्रमा प्रतिवादीलाई भेट गरेको, नगरकोट गएको, लाइफमा सबैभन्दा खुसीको पल नै हिजो थियो भनेर कुराकानी भएको, भोलिपल्ट नै सन्दीप लामिछानेको नाउँको जर्सी ल्याएर ल्यापटपमा खुसी भएर हुटिङ गरेको, पीडितको मोबाइलबाट ही ड्रप मी एट माई होस्टेल, आई एम सेफ भन्ने मेसेज पठाएको, वारदात भएपछि पठाएको मेसेजमा आई जस्ट हग सन्दीप लामिछाने द डे बिफोर एस्टर्डे भनी उल्लेख गरेको’ विषयलाई पनि उल्लेख गरिएको छ ।
पीडित र उनका साथीहरूबीच लामिछानेबारे ‘पटकपटक फेसबुक,
ह्वाट्सएप, स्न्यापच्याटमा पटकपटक वार्ता, म्यासेज आदानप्रदानसमेत भएको समेतका तत्काल प्राप्त प्रमाणका आधार कारणबाट प्रतिवादीलाई थुनामै राखी पुर्पक्ष गर्नॅपर्नेसम्मको अवस्था नभई निज सन्दीप लामिछानेबाट २० लाख धरौटी माग्ने आदेश मिलेको’ भन्ने सर्वोच्चको आदेश छ ।
भदौ ५ गते राति पीडितमाथि जबर्जस्ती करणी भएको थियो कि थिएन भन्ने विषयमा जिल्ला अदालतमा मुद्दा जारी छ । जबर्जस्ती करणी गरेको पुष्टि भएमा लामिछाने जेल चलान हुनेछन् भने पुष्टि नभएमा उन्मुक्ति  ।
उजुरी पर्दार् लामिछाने क्रिकेट खेल्न विदेश थिए । यताको क्रिकेट प्रतियोगिताबाट हटाइए पनि उनी झन्डै १ महिना विदेशमै बसेका थिए । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले असोज ७ मा लामिछानेविरुद्ध
‘डिफ्युजन नोटिस’ जारी गरेपछि स्वदेश फर्किएका उनलाई असोज २० मा प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालत पाटनले पुस २८ मा लामिछानेलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । साथै, उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म विदेश जान नपाउने, मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न वा धारणा राख्न नपाउने, पीडित किशोरीसँग उनका वकिललाई भेट्न र प्रभावमा पार्न नपाउने र लिखित जानकारी नदिई काठमाडौं उपत्यका छोड्न नपाउने आदेश दिएको थियो ।
लामिछानेले विश्वकप लिग–२ अन्तर्गतको शृंखलाका लागि खेल्न पाऊँ भनी गत बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबारबाट सुरु भएको नेपालले आठौं शृंखलामा यूएई र पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल्दै छ ।

Page 2
म्यागेजिन

भुटानी दिदीभाइको पुनर्मिलन

- पर्वत पोर्तेल

(सिलिगुडी, भारत)
भुटानबाट लखेटिँदा पुग/नपुग १४ वर्षका थिए, खड्गबहादुर कार्की । सन् १९९२ मा त्यहाँका तत्कालीन शासकबाट एक लाखभन्दा बढी नेपालीभाषी विस्थापित हुँदा त्यही पंक्तिमा थियो उनको परिवार पनि । भुटानको गेलेफु, दानाबारीका कार्की परिवार अरूझैं ज्यान मात्रै जोगाएर रातरात नेपाल पसे । थातथलोसँगै सिरिखुसी छाडेर जाँदा परिवारकै एक्ली छोरी दिलमाया पनि छुटिन् । १९ वर्षकी दिलमायालाई कार्की परिवारले वर्ष दिनअघि मात्रै बिहे गरेर पराइघर पठाएका थिए । ‘भुटानमा आन्दोलन सुरु हुँदा मेरी जेठी छोरी ६ महिनाकी थिई,’ दिलमायाले विगत कोट्याइन्, ‘मलाई पनि नेपाल जान मन थियो । तर, बाआमा मलाई लैजान मान्नु भएन ।’
तीन दशकअघि परिवारसँग बिछोडिएकी दिदी दिलमाया र सन् २०१० मा पुनर्वास भई अमेरिका पुगेका भाइ खड्गबहादुरबीच करिब २५ वर्षपछि बिहीबार पुनर्मिलन भयो । भुटानमा जन्मिएका खड्गले नेपालमा लामो समय शरणार्थी जीवन बिताउनुपर्‍यो । १२ वर्षदेखि अमेरिकीवासी भएका छन् । यी दिदीभाइबीचको पुनर्मिलनको केन्द्रचाहिँ भारत बन्यो । कुनै बेला धेरै शरणार्थीको आक्रोश थियो भारतप्रति । कैयौं पटक भुटान फर्किने आन्दोलनमा भारत तगारो बन्दा उनीहरू दुखित बन्ने गर्थे । अनि भारतसँग गुनासिन्थे, ‘नेपाल आउने बेलामा बाटो दिने, भुटान फर्किने बाटो किन छेक्छस् ?’
‘कुनै बेला भारतले छेक्दा भुटान फर्किन पाइएन,’ खड्गले खुसी हुँदै सुनाए, ‘अहिले भारतले नै बिछोडिएकी दिदीसँग भेट गरायो ।’ अहिले खड्गजस्ता धेरै अमेरिकावासी भुटानीहरूले वर्षौं पहिले बिछोडिएका आफन्त भेट्ने ‘मिटिङ प्वाइन्ट’ बनाएका छन् पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडीलाई । ‘हामी भुटान जान पाउँदैनौं, भुटानमा भएका परिवार नेपाल जान पाउँदैनन्,’ खड्गबहादुर थप्छन्, ‘त्यही भएर सिलिगुडी त हाम्रा लागि भुटानजस्तै लाग्न थालेको छ ।’
िि
िइन्ट्रा फाउन्डेसन नामक संस्थाका कामले भारत ओर्लनुअघि नै दिदीभाइले सामाजिक सञ्जालमार्फत भेट्ने चाँजो मिलाए । त्यही मेसोमा दिदी सिमान्त सहर जयगाउँबाट करिब २ सय किलोमिटर टाढाको भुटानी गाउँ ढोलपानीबाट गाडी चढेर आइन् । साथमा आए, माइली छोरी सुशीला र नातिनी रेविका । वर्षौंपछि भेट्न लागेको भाइलाई कोसेली बोकिन्, आफ्नै घारका मौरीको मह, एक हर्पे गाईको घिउ र आफ्नै बारीमा फलेका बयर ।
२५ वर्षपछि भाइसँग भेट्दा दिलमायाको गह आँसुले भरियो । खड्गबहादुरका आँखामा पनि बर्खाको भेलझैं आँसु बग्यो । ‘यति लामो समयपछि भाइलाई भेट्टाउँदा हर्षको कुनै सीमा नै छैन,’ दिलमायाले दिल खोलेर बोलिन्, ‘प्रियजनसँग एक जुगपछि भेट्दा को पो खुसी नहोला ?’
भुटानबाट आइपुगेकी दिदी, भान्जी र नातिनीलाई खड्गले नजिकैको सपिङ मल घुमाउन लगे । लुगा किनिदिए । सँगै बसेर खानेकुरा खाए । त्यही बेला दिलमायाले दुःखका पुराना पोकाहरू खोलिन् । भुटानी शासकले माइतीलाई लखेट्दा घरबाट भागेर उनी पनि पछ्याउँदै परसम्म पुगिन् । ‘त्यो बेला किन हो काखे बच्ची र श्रीमान्को भन्दा आफूलाई जन्माउने बाआमा र दाजुभाइको माया धेरै लाग्यो,’ दिलमाया भावनामा बहकिइन्, ‘तर, बुबाआमाले १५ दिनमा आउँछौं भनेर झुक्याएर भाग्नुभयो ।’
दिलमायालाई त्यो बेला सही, गलत छुट्याउने
ल्याकत थिएन । बाआमाले १५ दिनमा आउँछौं भनेपछि उनले सहजै पत्याइन् । अनि बिदाइको हात हल्लाइन् । उनलाई मन त बाआमाकै साथ लागेर जान मन
थियो । तर, बाध्यताले उनी सुकसुकाउँदै घर फर्किनुपर्‍यो । ‘घर फर्किएर गएँ, बाआमा आउँछन् भन्दै औला
भाँच्दाभाँच्दै माइली छोरी जन्मिई,’ हल्का लजाउँदै थपिन्, ‘तर, केको आउनु १’
त्योबेला सम्पर्कको कुनै माध्यम थिएन । अहिले जस्तो फोन भएको भए उनी फोनमै भए पनि बोलेर मातापिता भेट्ने इच्छाको धीत मार्थिन् होला । तर, त्यो सम्भव थिएन । उनलाई हरेक दिन बाआमा आउँदै पो छन् कि भन्ने लाग्यो । सपनामा पटक–पटक बाआमा देख्थिन् । बाटोमा अपरिचितलाई देख्दा उनीहरूको झझल्को हुन्थ्यो । मातापिताको पर्खाइमा हरेक दिन गाउँको चुके भीरबाट परसम्म नागबेली बाटोहरू घण्टौं नियाल्थिन् । गाउँबाट भारततिरको जमिन छ्याङ्ङ देखिन्थ्यो । अनि उनी सोच्थिन्, ‘त्यही बाटो भएर नेपाल पसे होलान् मेरा बाआमा ।’
बाआमालाई सम्झिँदा घाँटीमा पीडाको आग्लो लागेझैं हुन्थ्यो । केहीछिन एक्लै भक्कानिन्थिन् । अनि पछ्यौरीले आँसु पुछ्दै फर्किन्थिन् घर । ‘अहिले पो फोन छ । बोल्छु भन्दा बोल्न पाइन्छ । अनुहारै हेर्छु भन्दा त्यो पनि पाइन्छ,’ दिलमायाले बिलौना गाइन्, ‘पहिला त न फोन । न मोबाइल ।’ यतिबेला उनलाई ती निर्दयी दिनहरूप्रति अनायासै रिस उठ्छ । सम्झिन नपरोस् झैं लाग्छ ।
दिलमायाका परिवार अमेरिकामा छन् । त्यो देखेर अमेरिका जाउँ–जाउँ त लाग्छ उनलाई । तर, आफू जन्मिएको भुटानको मायाले च्याप्पै समात्छ । ‘त्यतिबेलै बाआमासँग आएको भए त अहिले अमेरिका पुगिने रहेछ,’ दिलमायाले भनिन्, ‘के गर्नु बाआमासँगै बस्ने, अमेरिका जाने भाग्य रहेनछ ।’
दिलमाया सम्हालिन्छिन् । अनि अमेरिका बिर्सिएर फर्किन्छिन् आफ्नै भुटान । ‘अहिले त हाम्रो भुटान पनि राम्रो भएको छ । पहिला जस्तो नेपालीलाई शोषण, दमन गर्दैनन्,’ दिलमाया भुटानको बचाउ गर्छिन्, ‘राजाले घरघरमा बाटो, पानी, बिजुली सबै पुर्‍याइएको छ । केही अभाव छैन । डुक्पा–नेपाली मिलेर बसेका छौं ।’ लखेटिने बेलामा स्थानीय विद्यालयमा ५ कक्षा पढ्दै गरेका १४ वर्षका खड्गलाई आर्मी, पुलिस आको, नेपालीभाषीका घरहरू भत्काएको । आक्रमण गरेका घटनाहरू सपनाझैं झल्याकझुलुक मात्रै याद आउँछ । ‘के भइराको होला, यस्तो किन गरेको होला भन्ने चेत नै थिएन ऊबेला,’ उनी सम्झन्छन्, ‘अहिले जस्तो हो भने सहिन्न थियो होला ।’
िि
िएक रात सिलिगुडीमै बिताए । राति अबेरसम्म दुःखसुखका बात गरे । शुक्रबार बिहान दिलमाया फर्किने भइन् । बल्लबल्ल भेटिएकी दिदी फर्किने कुराले खड्गको मन भारी भयो । अझै केही समय दिदीसँग बिताउने इच्छा थियो । तर, टाढा फर्किनुपर्ने बाध्यताका पछि उनको केही लागेन । दिदी हतारिँदै थिइन् । फर्किने बेलामा खड्गले दिदीलाई गर्ल्याम्म अँगालो हाले अनि भक्कानिए । दिदी पनि उसै गरी भक्काइन् । भान्जी सुशीला पनि नजिकै सुक्सुकाइन् । १० वर्षकी नातिनी रेविकाले यो दृश्य छक्क परेर नियालिरहिन् । भुटानकै देउसिरेका आफन्त दाजु दिलमान भट्टराईले पिठ्युँमा थुम्थुम्याएपछि खड्गले दिदीको अँगालो छाडे । अनि अलि पर्तिर रूखको फेदमा गएर फेरि भक्कानिए । दिदी पनि कारको देब्रेतिरको सिटमा बसेर पछ्यौरीले आँसु पुछ्न थालिन् ।
आँसु हल्का ओभायो । खड्ग दौडिएर कारछेउ पुगे । अनि दिदी बसेपट्टि गए । एकटकले दिदीलाई हेरे । दिलमायाले इन्कार गर्दागर्दै केही बाटो खर्च हातमा
राखिदिँदै भने, ‘के खान मन लाग्छ, खाउ है दिदी ।’ कार हुइँकियो । बिदाइको हात हल्लाउँदै खड्गले कार
ओझेल नपरेसम्म हेरिरहे । जसरी कुनै बेला दिलमायाले नेपाल हिँडेका बाआमालाई परसम्म हेरेकी थिइन् ।
‘लामो समयपछिको भेट अनि छिट्टै छुट्टिनुपर्ने भएर
होला आँसु थाम्नै सक्दिनँ,’ खड्गले दायाँ हातले आँसु पुछिसकेपछि भने, ‘भुटानमा हाम्रो आफ्नो भन्ने केही, कोही छैन, यी दिदी मात्रै हुन् ।’

 

Page 3
समाचार

राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् पूर्ण

- कुलचन्द्र न्यौपाने,बबिता शर्मा

(काठमाडौं)
दुई महिना नपुग्दै सत्ता गठबन्धनमा भएको हेरफेरले दुई तिहाइभन्दा बढी मन्त्रालय खाली भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । मन्त्रालय बाँडफाँट तत्काल गर्दा उत्पन्न हुन सक्ने विवादले आसन्न निर्वाचनमा असर पर्ने भय रहेका कारण मन्त्रिपरिषद् विस्तारका लागि दाहालले केही दिन कुर्ने भएका हुन् ।
मन्त्रिपरिषद्मा सबैभन्दा ठूलो हिस्सा ओगटेको एमाले सोमबार बाहिरिएपछि प्रधानमन्त्री दाहालमातहत १६ वटा मन्त्रालय रहेका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी माघ २२ र राप्रपा फागुन १३ मा सरकारबाट बाहिरिएका थिए । अहिलेको सात सदस्यीय मन्त्रिपरिषद्मा माओवादी र जनमत पार्टीको मात्र प्रतिनिधित्व छ । प्रधानमन्त्री दाहालले भने मन्त्रिपरिषद्लाई पूर्णता दिनेभन्दा पनि विश्वासको मतलाई प्राथमिकता दिएका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री दाहाललाई सुझाव दिएको एक नेताले बताए ।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएका कारण दाहालले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गरेका दाहालले यसअघि पुस २६ मा विश्वासको मत लिएका थिए । सकेसम्म चाँडो विश्वासको मत लिन उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग परामर्श गरेका छन् । विश्वासको मत लिने मितिबारे औपचारिक सहमति बन्न बाँकी रहेको एक नेताले बताए ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइनसकेको बताए । ‘हामी सबै राष्ट्रपति निर्वाचनको तयारीमा केन्द्रित छौं । आजै आठ दलको कार्यदल बैठक बसेर फागुन १९ मा प्रदेश सांसदहरूको भेला बोलाएका छौं,’ राष्ट्रपति निर्वाचनको तयारीसम्बन्धी कार्यदलका संयोजकसमेत रहेका उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका विषयमा बाहेक अरू विषयमा गठबन्धनभित्र छलफल भएको मलाई थाहा छैन ।’ उपसभापति खड्काकै नेतृत्वमा कांग्रेस सरकार जाने सम्भावना छ ।
कांग्रेस प्रवक्ता प्रकाशरण महतले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने र सरकारमा सहभागी हुने विषय आठ दल बसेरै तय गरिने बताए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताए । ‘अहिले सबैको ध्यान राष्ट्रपति निर्वाचनतिर छ,’ उनले भने, ‘हामी सरकारमा जोडिने पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि नै हो ।’ राष्ट्रपतिको फागुन २५ र उपराष्ट्रपतिको चैत ३ मा निर्वाचन हुँदै छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने गठबन्धन दलहरूबीचमा सहमति भयो भने राष्ट्रपति निर्वाचनअघि मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताए । ‘तुरुन्तै विश्वासको मत लिनलाई कुनै समस्या छैन, बहुमत छँदै छ । तर कहिले लिने भन्ने विषयमा प्रधानमन्त्री छलफलमा नै हुनुहुन्छ,’ उनले भने, ‘दलहरूबीच कुरा मिल्यो भने चुनावअघि मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, पछि जान पनि सक्छ ।’ प्रधानमन्त्रीनिकट स्रोतले भने राष्ट्रपति निर्वाचनलाई असर नपर्ने गरी केही दलबाट मन्त्री थपिने सम्भावना पनि रहेको जनाएको छ । ‘गृह, अर्थ र परराष्ट्र जस्ता महत्त्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्ति गरिहाल्ने कि भन्नेमा पनि प्रधानमन्त्री देखिनुहुन्छ,’ स्रोतले भन्यो ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत र राष्ट्रिय जनमोर्चाले शुक्रबार राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने र सत्ता सहयात्रा पाँच वर्षसम्म गर्ने समझदारी बनाएका थिए । उक्त समझदारीसँगै गत पुस १० मा बनेको सातदलीय गठबन्धन औपचारिक रूपमा टुटेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन । रास्वपाले गृह मन्त्रालय नपाएपछि गत महिना सरकार छाडेको थियो । नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा सदस्यको उम्मेदवारीमै अयोग्य ठहर गरेपछि रास्वपा सभापति रवि लामिछाने गत माघ १३ मा सांसद र उपप्रधान तथा गृहमन्त्री पदबाट मुक्त भएका थिए । लामिछानेले पुनः नागरिकता कायम गरेपछि गृह मन्त्रालयमा फर्कन चाहेका थिए ।
एमालेको शनिबारको सचिवालय बैठकबाट राष्ट्रपति निर्वाचनसम्म सरकारबाट नहट्ने निर्णय लिएको थियो । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई रोकेपछि सोमबार बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय लिएको हो । पार्टी निर्णयलगत्तै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री पौड्याल, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बालुवाटारमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
लामिछाने पदमुक्त भएपछि प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफूमातहत राखेको एक महिना नाघेको छ भने रास्वपाका अन्य मन्त्रीले राजीनामा दिएपछि खाली मन्त्रालय उनको मातहतमा राखिएको एक महिना हुन लागेको छ । अहिले सरकारमा माओवादीका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी छन् । जनमत पार्टीबाट अब्दुल खान खानेपानी मन्त्री छन् ।
राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएका आठ दलमध्ये अधिकांश सरकारमा जाने सम्भावना छ । राष्ट्रिय जनमोर्चाले तत्काल सरकारमा नजाने मनस्थिति बनाएको छ । रेशम चौधरी रिहाइको सर्त राख्दै आएको नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने विषयमा निर्णय लिइसकेको छैन । नागरिक उन्मुक्तिले दाहाल प्रधानमन्त्री नियुक्ति हुँदै समर्थन गरेको थियो । त्यतिबेलै समर्थन गरेको जसपा भने मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाएर सरकारमा सामेल भएको छैन । आठदलीय गठबन्धन बाहिर रहेको रास्वपालाई पनि सरकारमा समेट्न प्रधानमन्त्री दाहालले प्रयास गरिरहेका छन् ।

समाचार

नयाँ गठबन्धन धेरै टिक्दैन : एमाले

- मणि दाहाल

(काठमाडौं)
माओवादीसँगको गठबन्धन दुई महिनामै भंग भएपछि प्रतिपक्षमा बस्ने घोषणा गरेको एमालेले कांग्रेस, माओवादीलगायत दलको नयाँ गठबन्धन पनि लामो समय नटिक्ने दाबी गरेको छ । मन्त्रिपरिषद् विस्तार र त्यसको नेतृत्वका विषयले नै गठबन्धन संकटमा पर्ने ठोकुवा गरेको छ ।
एमालेले आठदलीय नयाँ गठबन्धन निर्माणसँगै राजनीतिक अस्थिरताको शृंखला सुरु भएको टिप्पणी पनि गरेको छ । ‘अबको राजनीतिक कोर्स सरल छैन । आठ दल भनिएको छ तर केही दल जबर्जस्ती घिसारिएका छन्,’ एमाले उपमहासचिव विष्णु रिमालले भने, ‘३–४ वटा दलको सरकार बनाउन महाभारत छ, ८ दलको सरकार बनाउने कौशलता कसरी देखाउनुहुन्छ, हेर्न बाँकी छ ।’ तीन नेता आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयनमै समस्या आउने उनले दाबी गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवाको जतिसक्दो छिटो प्रधानमन्त्री बन्ने चाहनाले पनि गठबन्धनलाई संकटमा पार्ने रिमालको बुझाइ छ । ‘प्रधानमन्त्रीमा बीचको भाग माधवकुमार नेपाल, अन्तिम भाग शेरबहादुर देउवा र बाँकी प्रचण्डजीको हो भन्ने सुनिन्छ तर केहीले यस प्रकारको सहमति नभएको भनिरहनुभएको छ,’ रिमालले भने, ‘त्यसले अन्य दलहरू संशयमा देखिन्छन् । त्यसले पनि अब बन्ने सरकार अस्थिर हुन्छ भन्ने बुझिहालिन्छ । कम्तीमा तीन पटक सरकार फेरेर भाग लाउँदा पनि झगडा पर्न सक्छ ।’
३२ सिट भएको माओवादीलाई प्रधानमन्त्रीसहित ६ जनालाई मन्त्रिपरिषद्मा लाँदा पनि दाहालले राम्रो मन्त्रालय नपाएको गुनासो गरेको रिमालले सुनाए । ‘७९ सिट भएको हामीले ८ मन्त्रालय लिँदा पनि चित्ता बुझाएका थियौं,’ उनले भने । अघिल्लो प्रतिनिधिसभा विघटनपछि बनेको कांग्रेस नेतृत्वको गठबन्धन प्रधानमन्त्री को बन्ने भन्ने विवादले नै गत पुस १० मा भत्किएको थियो । ‘जुन कारणले प्रचण्डजीलाई देउवाले पुस १० मा प्रधानमन्त्री पद दिनुभएन । अब त्यही बाटोमा जाने देखिन्छ,’ रिमालले भने, ‘पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई शीतल निवास पठाउने, प्रचण्डजीले प्रधानमन्त्री खाने र देउवाजी धुम्बाराहीमा घाम तापेर बस्ने विषय त्यति सहज नहोला ।’
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने राष्ट्रपतिको निर्वाचनमा एक स्थानमा उभिएका दलहरू सरकारमा सहभागी भएपछि एकता झनै मजबुत हुने दाबी गरे । ‘हामीले लामो समयसम्मका लागि गठबन्धन बनाएका हौं । त्यसको आधार खोजेर अघि बढ्नेछौं । यो राजनीतिकभन्दा पनि सरकार सञ्चालन गर्ने गठबन्धन हो,’ उनले भने, ‘राष्ट्रपति निर्वाचनले यसलाई मजबुत बनाउने छ । सबै दल सरकारमा सहभागी भएपछि अझै मजबुत बन्नेछ । एकले अर्कोको भावनालाई सम्मान गर्दै अघि बढ्दा गठबन्धन लामो समय टिक्नेछ ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस, माओवादीलगायत दलहरू एक स्थानमा आएका थिए । सहयात्राका क्रममा उनीहरूले चुनावी मोर्चाबन्दीसमेत गरेका थिए । पाँचदलीय मोर्चाका कारण स्थानीय तह चुनावमा एमाले दोस्रो स्थानमा खुम्चिएको थियो । प्रतिनिधिसभा चुनावमा भने समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको एमाले प्रत्यक्षमा दोस्रो दल बन्यो । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी भागबन्डामा असन्तुष्ट भएपछि जसपा भने पाँचदलीय गठबन्धनबाट बाहिरिएको थियो, गठबन्धनमा लोसपा भित्रिएको थियो ।
प्रधानमन्त्री पदका विषयमा पाँचदलीय गठबन्धन भत्केपछि एमाले राज्यसत्ताका पदहरूमा हिस्सेदार बनेको थियो । यसबीचमा एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भए, सात प्रदेशमध्ये चार प्रदेशको नेतृत्व र मधेस प्रदेशमा सभामुख पद पनि एमालेको भागमा पर्‍यो । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा सुदूरपश्चिम प्रदेश सरकार भने ढल्यो । तत्कालीन पाँचदलीय गठबन्धन नभत्केको भए एमालेले यी पद पाउँदैनथ्यो । अब भने प्रदेश १, गण्डकी र लुम्बिनीमा रहेको एमाले नेतृत्वको सरकार धरापमा परेको छ ।
उपमहासचिव रिमाल भने कांग्रेसका लागि पुस १० अघि गरिएको प्रस्तावमा एमाले अहिले पनि खुला रहेको बताउँछन् । ‘त्यतिबेलै हामीले दुवै दल सँगै बसौं भनेको हो, राष्ट्रपति र सभामुख हामीलाई छाडिदिने हो भने सरकार चलाउनुहोस् भनेका थियौं,’ उनले भने, ‘हामीलाई राष्ट्रपति छाड्ने हो भने अहिले पनि त्यो प्रस्तावमा हामी खुला नै छौं ।’

 

समाचार

'अपमानित भएर सरकारमा रहिरहनु सम्भव भएन’

- कान्तिपुर संवाददाता

दुई महिनामै एमाले सरकारबाट बाहिरिनुपर्ने अवस्था कसरी आयो ?
नेपाल अस्थिरतातर्फ अभिमुख भयो भन्ने लाग्छ । दलहरूबीच विश्वासमा ठूलो खाडल पैदा भएको छ । आपसमा भएका औपचारिक सहमति कार्यान्वयन नहुने हो भने देश कसरी अघि बढ्छ भन्ने गम्भीर प्रश्न उत्पन्न भएको छ ।
राजनीतिमा न्यूनतम नैतिकता हुन्छ, सत्ताको अगाडि त्यसको मान्यता हुँदो रहेनछ हैन ?
पुस १० गते माओवादीसँग भएको सहमतिअनुसार नै मुलुक अघि बढ्छ भन्ने हाम्रो अपेक्षा थियो तर तोड्ने काम भयो । वास्तवमा एउटा अविश्वासको परिस्थिति उत्पन्न भयो ।
यो सत्ता समीकरणले मुलुकमा कस्तो परिणाम ल्याउने देख्नुहुन्छ ?
आगामी दिनमा अस्थिरताका शृंखला अघि बढ्न सक्छन् । यति बेला स्थिर सरकार हुनुपर्ने, मुलुकमा देखिएको आर्थिक संकट समाधान गर्नुपर्ने, सामाजिक विकृतिको अन्त्य गर्नुपर्ने, सद्भाव बढाउनुपर्ने अभिभारा हामीसामु छन् । यी अभिभारा पूरा गर्न मुलुकले चुनौतीको सामना गर्ने अवस्था देखिन्छ ।
तपाईंहरूले नै स्थिर सरकारको नारा लगाउनुभएको थियो, दुई महिनाभन्दा बढी टिकाउन सक्नुभएन...
यो दुर्भाग्यपूर्ण अवस्था देखापर्‍यो । सामान्यतया सरकार गठनको पृष्ठभूमिमा जे–जति सहमति भएका थिए, ती कार्यान्वयन हुनुपर्थ्यो । फरक–फरक पार्टी भएको हुनाले पार्टीबीचमा फरक मान्यता हुनु, कामको दौरान असहमति र अन्तरविरोध देखापर्नु स्वाभाविक हो । यस्ता विषयमा आपसी छलफल गरी अघि बढ्नुपर्ने हो । मूलतः सरकार गठन गर्ने बेला भएको फेमवर्कभित्र समस्याको समाधान गर्नुपर्ने हो, त्यो हुन नसक्दा यो परिस्थिति उत्पन्न भएको हो ।
दुई महिना अर्थमन्त्री हुनुभयो, कस्ता योजना अघि सार्नुभएको थियो ?
रुस–युक्रेन युद्ध, कोभिडजस्ता कारणले अर्थतन्त्रमा असर परेको छ । आन्तरिक राजस्व परिचालन, पुँजीगत खर्च, तरलता अभावलगायतका समस्या समाधान गर्न उचित कदम चाल्दै थियौं । खासगरी अर्थतन्त्र परिसूचकलाई सकारात्मक दिशामा फर्काउन योजनाबद्ध ढंगले काम अघि बढाएका थियौं । यहीबीच हामीले बजेटको मध्यावधि समीक्षा गरेर चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनका समस्या पहिल्यायौं र त्यसलाई कार्यान्वयनयोग्य बनाउने महत्त्वपूर्ण निष्कर्ष अघि सार्‍यौं । राजस्व प्रशासनलाई प्रभावकारी ढंगले सञ्चालन गरी संकलनमा सुधार ल्याउने, पुँजीगत खर्चमा वृद्धि गर्ने र निजी क्षेत्रसँग गहन संवाद गरी उनीहरूका समस्या सुन्ने र समाधान गर्ने योजना सुरु गरेका थियौं ।
पुस १० बाट माओवादी पछि हट्नुमा के कारण देख्नुहुन्छ ?
चुनावमा जनतासँग जाँदा हामीलाई बहुमत दिनुहोस्, बहुमतको सरकार बनाउँछौं, मुलुकलाई आर्थिक समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउँछौं भनेका थियौं । संसद्मा जनमतको हिसाबले ठूलो र सिटको हिसाबले दोस्रो ठूलो पार्टी बन्यौं । कांग्रेस–माओवादी गठबन्धन बनाएर चुनाव लडे, उनीहरूले सरकार बनाउन्, हामी प्रतिपक्षमा बस्छौं भनेर चुपचाप बसिरहेका थियौं । जब राष्ट्रपतिज्यूले सरकार गठन गर्न दिएको अन्तिम समयसम्म पनि सरकार गठन गर्ने अवस्था रहेन, तत्कालीन सत्तारूढ दलले सरकार दिन सक्ने अवस्था रहेन, त्यो अवस्थामा दोस्रो ठूलो दलको हैसियतले स्वाभाविक रूपमा सरकार गठनका निम्ति सघाउनुपर्ने अवस्था सिर्जना भयो । त्यति बेला हामीलगायतका दलले वर्तमान प्रधानमन्त्रीलाई साथ दियौं । यसरी हामी सरकार निर्माणमा सहभागी भएका हौं । जुन आधारमा सरकार बनेको हो, त्यही आधारमा अघि बढ्नुपर्थ्यो । पुस १० मा जे सहमति (सभामुख र राष्ट्रपति एमालेको, प्रधानमन्त्री माओवादीको) भएको थियो, त्यो भंग भयो । एमालेले धोका महसुस गरेको छ ।
एमाले र माओवादीबीच पुस १० मा लिखित सहमति भएको देखिएन नि ?
सधैं लिखित सहमति आवश्यक पर्दैन । त्यो विश्वासको कुरा हो । सहमति भएको कुरा जगजाहेर नै छ । लिखित हुनु, नहुनु गौण महत्त्वको विषय हो ।
एमालेका कारण नयाँ समीकरण बनेको माओवादीको दाबी छ नि ?
कसले दुई महिनामै नयाँ समीकरण बनायो, कुरा स्पष्ट नै छ ।
एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा दिँदा के कुरा उल्लेख गरिएको छ ?
हामीले आज (सोमबार) बिहान केन्द्रीय सचिवालयको बैठकबाट राजीनामा दिने निर्णय गरेका हौं । त्यो निर्णयको निष्कर्ष छ– जसरी सहमति भएको थियो, त्यसअनुसार कुरा अघि बढेन । सहमति कार्यान्वयन गरिएन । राष्ट्रपति निर्वाचनमा मतभेद थियो भने पनि अस्ति (शनिबार) को बैठकमा सरकारबाट बाहिर ननिस्कने निर्णय भएको थियो । सरकारमै रहने निर्णय थियो । हामीलाई पुस १० गतेको सहमति कार्यान्वयन हुन्छ भन्ने अपेक्षा थियो । त्यसपछि प्रधानमन्त्रीज्यूले एमाले प्रतिपक्षमा जान्छ, म मन्त्रिपरिषद् पुनर्गठन गर्छु लगायतका अभिव्यक्ति दिनुभयो । उहाँले खासगरी एमाले सरकारबाट बाहिर जाओस् भन्ने अभिव्यक्ति दिनुभयो, त्यसपछि अपमानित भएर सरकारमा रहिरहनु सम्भव भएन । हामीले सरकारबाट बाहिरिने निर्णय गर्‍यौं ।
अब एमाले र माओवादीबीच सहकार्यको ढोका बन्द भएको हो ?
अहिले नै सुदूर भविष्यमा जान जरुरी हुँदैन ।

Page 4
युवा ग्यालरी

र्‍याफ्टिङमा तन्नेरी भोटेकोसीदेखि जापानसम्म

- अनिश तिवारी

(सिन्धुपाल्चोक)
विश्वका करिब ६ हजार नदीनालामध्ये एडभेन्चरका लागि उत्कृष्ट १० मध्येमा पर्छन् भोटेकोसी र सुनकोसी । हेर्दै अत्यासलाग्दो र उर्लंदो भोटेकोसीमा पहिलो पटक बडो सकसले ‘र्‍याफ्टिङ’ सिकेका थिए, बाह्रबिसे नगरपालिका–९ का ३२ वर्षे इन्द्रबहादुर बोगटीले । दुबईको अल एन सहरमा र्‍याफ्टिङ र रिभर गाइड रहेका उनले त्यतिबेलाको ‘द लास्ट रिसोर्ट’ का संस्थापक दिवंगत डेभिड अलार्डिस र अल्टिमेट रिभर्स कम्पनीलाई कहिल्यै भुल्न सक्दैनन् । त्यतिबेला ‘द लास्ट रिसोर्ट बन्जी जम्प’ सुरु भइसकेको थिएन । रिसोर्टको बेसक्याम्प मात्रै थियो ।
२३ वर्षको फूर्तिलो उमेरमा उनले पोख्त ‘र्‍याफ्टिङ गाइड’ बनेर लाइसेन्स लिएपछि सुनकोसी र भोटेकोसी नदीमा सञ्चालकसहित आन्तरिक र बाह्य पर्यटकको मन जिते । त्यतिले नअघाएका उनी मलेसिया पुगेर गाइडकै रूपमा त्यहाँका नदीमा ३ महिना काम गरे । त्यसपछि आफ्नै भूमिमा फर्किएका उनले सुनकोसी नदीमा र्‍याफ्टिङ गाइड फ्रिल्यान्सर बनेर ७ वर्ष गुजारे । फेरि दुबई हानिएका उनी अहिले अल ऐन एडभेन्चर कम्पनीमा र्‍याफ्टिङ गाइड बनेर मासिक १ लाख २० हजारदेखि १ लाख ४० हजारसम्म कमाउँछन् । ‘सुनकोसी र भोटेकोसीमा महिनाको बढीमा ३० देखि ५० हजार कमाउँथें, त्यो बेलाको आनन्द र उत्साह बेग्लै थियो । तर, त्यहाँभन्दा यहाँ धेरै फरक र सुरक्षित वातावरण छ,’ उनले भने । उनका अनुसार दुबईको अल ऐनमा कृत्रिम नदी बनाइएको छ । त्यहाँ उनीजस्तै १२ जना नेपाली गाइड कार्यरत छन् । सम्पूर्ण गाइडलाई नेपालभन्दा फरक र आधुनिक ‘र्‍याफ्टिङ सेफ्टी’ को तालिम दिइन्छ ।
जापानको यासिनओगावा सहरस्थित कोचीकेन नदीमा विदेशीलाई र्‍याफ्टिङ गराउँदै आएका बाह्रबिसे–५ गाती जम्बुका ३६ वर्षे तीर्थ श्रेष्ठले
आफ्नो आधारभूमि भोटेकोसी र सुनकोसी नदीलाई भने बिर्सिएका छैनन् । अहिले आफ्नो कम्पनीमा उनले चार नेपाली र तीन जापानी गरी ७ जना र्‍याफ्टिङ गाइडलाई रोजगारी दिएका छन् । ‘यसअघि लामो समय र्‍याफ्टिङ गाइड भएर संघर्ष गरें । ती मेरा अनमोल पल थिए । खुब ऊर्जाशील भएर भोटेकोसीमा र्‍याफ्टिङ गाइडको काम सिकेको थिएँ,’ श्रेष्ठले भने । भोटेकोसी नदीमा करिब १७ वर्षकै उमेरमा र्‍याफ्टिङ सिकेका उनले अनेक प्रतिस्पर्धामा भाग लिए ।
१८ वर्षको उमेरमा र्‍याफ्टिङको जुनियर च्याम्पियनसिप प्रतियोगितामा प्रथम भएको खुसीको क्षण उनले अझै भुलेका छैनन् । त्यसयता उनी रिभर गाइड भएर टर्कीमा ६ महिना र आइसल्यान्डमा ४ महिना बिताए । त्यसपछि नेपाल फर्किएका उनले तीन वर्ष सुनकोसी नदीमा होमिएर गुजारे । तीन महिना स्विट्जरल्यान्डमा ‘समर र्‍याफ्टिङ गाइड’ रहेका उनी जर्मनी पनि पुगे । त्यसपछि उनी नर्वे हुँदै जापान पुगेपछि उनलाई लाग्यो कि ‘आफ्नै मुलुक र पर्यटनको नाम राख्नकै लागि किन केही नगर्ने ?’ त्यसपछि उनले ७० लाख लागतमा आफ्नै कम्पनी खोले– ‘योउमी र्‍याफ्टिङ कम्पनी ।’
दुर्गम गातीबाट जापानसम्म आइपुगेका उनी जापानमा पुग्ने अधिकांश युवा ‘र्‍याफ्टिङ गाइड’ को अभिभावक बन्ने गरेका छन् । उनकै कम्पनीमा बाह्रबिसे नगर सुखवाका २९ वर्षे राज श्रेष्ठ, जम्बुका ३० वर्ष विनोद बस्नेत, राम्चेका २७ वर्षका ईश्वर बोगटी र काठमाडौंका २० वर्षे रितेश श्रेष्ठ र्‍याफ्टिङ गाइडका रूपमा काम गर्छन् । ‘यसबाहेक अन्य कला, सीप, भाषा र दक्षताका आधारमा जापानमा गाइडले आफ्नो क्षमता बढाउन सक्छन्, नेपालमा एक गाइडले मासिक १ लाख ५० हजारदेखि १ लाख ८० हजारसम्म कमाउँछन्,’ उनले भने । नेपालका अधिकांश नदीमा विदेशीभन्दा स्वदेशी पर्यटक बढी हुने र तालिम शैली तथा अनुभव उस्तै हुने विदेश पुगेका रिभर गाइडहरूको अनुभव छ । भोटेकोसी, सुनकोसीलगायतका नदीमा रिभर गाइडको अनुभव बटुलेका चितवनका चूडामणि अर्याल हाल अमेरिकामा छन् । स्वदेश र विदेश दुवैमा पर्यटनको माध्यमबाट आफ्नो आयआर्जनको दायरा बढाएका उनको माध्यमबाट धेरै गाइडले अमेरिकाको क्यालिफोर्निया, लस एन्जल्स, क्युटलगायत सहरमा रिभर गाइडको अनुभव बटुल्न भ्याएका छन् । ‘एक अर्थले युवाका लागि यो सुवर्ण अवसर र आयआर्जनको माध्यम बनेको छ,’ उनले भने । ‘रिभर गाइड’ कै रूपमा आइसल्यान्डलगायतका देश पुगेका चौतारा साँगाचोकगढी–११ का ३० वर्षीय उमेश श्रेष्ठ भोटेकोसी र सुनकोसीलाई उर्वर भूमि मान्छन् । त्यसमा सहमत छन्, सुनकोसीका रामबहादुर श्रेष्ठ र मधु पहरी । उनीहरू अहिले नेदरल्यान्ड सर्जो सिटीमा रिभर गाइडका रूपमा कार्यरत छन् । उनीहरू पनि उमेशझैं विदेशलाई अवसरका रूपमा मान्छन् ।
सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष तथा पर्यटन व्यवसायी नारायण श्रेष्ठका अनुसार देशभरबाट रिभर गाइडका रूपमा विदेश जानेको संख्या धेरै छ । भोटेकोसी र सुनकोसी नदीमा पारंगत नेपाली रिभर गाइडले जापान, यूएई, नेदरल्यान्ड्स, स्विट्जरल्यान्डलगायतका देशमा र्‍याफ्टिङ गाइड गरेर राम्रो आम्दानी पनि गर्छन् । ‘देशभर यस्ता युवा धेरै छन् । तीमध्ये २०/२५ जना सिन्धुपाल्चोकका छन्,’ उनले भने ।
भूकम्पअघि भोटेकोसी र सुनकोसी नदी किनारामा रहेका रिसोर्टमा मात्रै सात लाख पर्यटक आएका थिए । ‘र्‍याफ्टिङ’ को लोभले सिजन र अफ सिजनमा दैनिक एक रिसोर्टमा न्यूनतम ५० आन्तरिक र २० बाह्य पर्यटक भित्रने गरेका नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष तथा पर्यटन व्यवसायी शिव अधिकारीले बताए । अहिले पनि सिजनमा र्‍याफ्टिङ तथा क्यानोनिङको मनोरञ्जन लिन सिन्धुपाल्चोकमा सातामा झन्डै दुई हजार पर्यटक आउँछन् । जसका कारण करिब १० हजार जनाले रोजगारी पाएका छन् । तीमध्ये करिब आधाजसो जलपर्यटनसँग सम्बन्धित छन् । ‘यसमा युवाको आकर्षण झनै बढ्दो देखिन्छ । १७ देखि ३० वर्षसम्मका युवा जल पर्यटनमा रिभर गाइड बन्ने उत्साह देखिन्छ,’ अधिकारीले भने ।
युवाहरूकै आकर्षणका कारण सुनकोसी नदीको सुकुटे क्षेत्रमा देशभरका ५३ महिला रिभर गाइड तयार पार्ने लक्ष्य राख्दै र्‍याफ्टिङ स्कुल पनि निर्माण हुँदै छ । ब्रह्मायणी र सुनकोसी नदीको दोभानमा बन्ने ह्वाइट वाटर र्‍याफ्टिङ स्कुल सेन्टरका लागि पर्यटन मन्त्रालयले १३ करोड बजेटसमेत छुट्याएको छ । खानी निर्माण सेवाले बनाइरहेको विद्यालयको भौतिक संरचनाको काम करिब ७० प्रतिशत सकिएको छ । सुकुटे बिच एडभेन्जर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाका अनुसार सुनकोसी र भोटेकोसी किनारामा मात्रै र्‍याफ्टिङसहितका ७ रिसोर्ट सञ्चालनमा छन् । जिल्लामा भने होटल र रिसोर्ट गरी १६ वटा छन् ।

युवा ग्यालरी

खाडी युद्धको अन्त्य

- कान्तिपुर संवाददाता

सन् १९९१ मा आजकै दिन (फेब्रुअरी २८) मा पहिलो खाडी युद्धको अन्त्य भएको थियो ।
इराकी राष्ट्रपति सद्दाम हुसेनले १९९० को अगस्टमा छिमेकी देश कुवेतमाथि अतिक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव उत्पन्न भएको थियो । जसका कारण साउदी अरब र इजिप्टले अमेरिका र पश्चिमी देशलाई हस्तक्षेपका लागि आग्रह गरेपछि खाडी क्षेत्रमा युद्ध थप चर्कने अवस्था उत्पन्न भएको थियो ।
तनावबीच १९९१ को जनवरी मध्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले कुवेतबाट सेना फिर्ता गर्न इराकसँग माग गरेको थियो । तर राष्ट्रपति हुसेनले त्यसको अवज्ञा गरेपछि अमेरिकाले ‘अपरेसन डेजर्ट स्ट्रोम’ सुरु गरेको थियो । त्यसअन्तर्गत अमेरिकी सेनाले इराकमा भीषण हवाई आक्रमण गरेको थियो ।
आक्रमण सुरु गरेको ४२ दिनमा अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुसले फेब्रुअरी २८ मा युद्धविरामको घोषणा गरेसँगै युद्ध अन्त्य भएको थियो । कुवेतमाथि आक्रमण गर्नेमध्ये अधिकांश सैनिकले आत्मसमर्पण गरेका थिए भने केही मारिएका वा भागेर इराक फर्केका थिए । करिब ६ महिना चलेको युद्धका कारण कम्तीमा एक लाख सर्वसाधारणले ज्यान गुमाएका थिए ।

युवा ग्यालरी

भिटेनको स्वरमा ‘छड्के खालास्’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– बहुप्रतीक्षित फिल्म ‘छड्के–२’ को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिप–हप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा कलाकारहरूको मस्ती मुड, द्वन्द्व र केही संवादसहितका दृश्य समेटिएको छ ।
निगम श्रेष्ठको लेखन र निर्माण रहेको फिल्मले देशको प्राकृतिक स्रोत हत्याउन संघर्षरत तीन ग्याङको कथा भन्छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङबीचको लडाइँमा सुपरस्टार अनमोल केसीले ग्रिन ग्याङको प्रतिनिधित्व गर्छन् । उनी फिल्ममा मेनडगको भूमिकामा छन् ।
१० वर्ष अगाडिको चर्चित सिनेमा ‘छड्के’ को सिरिज र अनमोलको अभिनय भएकाले यो सिनेमा दर्शकमाझ प्रतीक्षित छ । सिनेमाले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने आशा गरिएको छ । सिनेमा फागुन १९ देखि नेपालभर प्रदर्शनमा आउँदै छ । ट्रेलर र टिजरले सिनेमाको हाइप निर्माण गरेका छन् । अहिलेसम्म ट्रेलर र टिजर १९/१९ लाख पटक हेरिएको छ । सिनेमामा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अली, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायत कलाकारको अभिनय छ ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश वज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा फिल्म्सको ब्यानरमा निर्मित सिनेमाको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

युवा ग्यालरी

विद्रोही सुरक्षा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– सुरक्षा पन्त र कमलमणि नेपालको मुख्य अभिनय रहेको फिल्म ‘बहाव’ को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी चैत २४ गते रिलिज हुँदै छ ।
प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा सुरक्षालाई प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको छ । काम र विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच सुरक्षामा देखाइएको छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्मको ट्रेलर सुरक्षा वरपर घुमेको छ ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा अभिनेत्री सुरक्षाले फिल्ममा जोडिनु आफैंका लागि सुखद क्षण भएको बताइन् । ‘कुनै फिल्म आउँछन्, जान्छन्, तर यो फिल्मका लागि मेरो बुझाइ फरक छ । किनकि यस्तो फिल्म दर्शकमाझ आउनुपर्छ,’ सुरक्षाले भनिन्, ‘बहाव परिवारभित्रको विद्रोहको कथा हो । यसले नेपालको अधिकांश परिवारको कथा भन्छ ।’
लेखक तथा निर्देशक कँडेलले लकडाउनका बेला ‘बहाव’ लेखेको बताए । ‘यो फिल्मसँग जोडिएका घटना, किस्सा धेरै छन् । तर जुन कथा मैले लेखें, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा लागि ठूलो उपलब्धि थियो,’ उनले भने, ‘हामी सुटिङका लागि चितवन जाने तयारी गरिरहँदा निर्माता श्रीधर पौडेलको बोली अस्वस्थताका कारण रोकियो । त्यस्तो तनावको अवस्थामा पनि उहाँले मलाई पूर्ण रूपमा विश्वास गरेर सबै जिम्मेवारी दिनुभयो ।’
निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफू लगानी गर्न राजी भएको खुलाए । ‘उसको स्क्रिप्ट मैले पढेपछि कथा फरक लाग्यो । किनकि मैले यसअघि फरक कथाको गोपी पनि बनाएको थिएँ । त्यही कारण बहावको कथाले मलाई छोयो,’ उनले भने । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।
अर्का अभिनेता पवन श्रेष्ठले आफ्ना लागि ‘बहाव’ भए पनि व्यावसायिक कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको बताए । त्यस्तै सूर्य शर्मा भट्टले आफू युनिभर्सिटीको प्रोफेसर भएको खुलाउँदै पहिलो पटक अभिनय गर्न पाउँदा उत्साहित भएको बताए ।
फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउन्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ । फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एन्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउन्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जित क्षत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र
सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।

Page 5
समाचार

बाँदरले हिँडायो बसाइँ, गाउँबस्ती रित्तारित्तै

- वसन्तप्रताप सिंह,लोकेश साउद

(बझाङ)
महाकाली नदी छेउको डाँडामाथि छ, धौल्याली गाउँ । सिलेट ओछ्याइएको छाना र कमेरो पोतिएका घर टाढाबाट उज्याला देखिन्छन् । गाउँको सिरानमै छ, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर । गाउँको पूर्व–पश्चिम मोहडा हुँदै तन्किएको छ, मध्यपहाडी लोकमार्ग । उत्तर–दक्षिण भएर १२ मिटर चौडा महाकाली करिडोर अगाडि बढेको छ । यातायात, खानेपानी र सिँचाइ सुविधा छ । तर गाउँभित्रको कथा विरक्तलाग्दो छ ।
दशरथचन्द नगरपालिका–८ मा पर्ने धौल्यालीमा ६८ घर छन् । गतिलै खर्चमा बनाइएका अधिकांश घरमा मान्छे छैनन् । ४० घरपरिवार बसाइँ सरिसके । खण्डहर घरका आँगन र बारी झाडीले छोपिएका छन् । खेतमा वनमारा र सिस्नु उम्रिएको छ । बाटोमा एकाध भेटिने पाका मानिस उदास देखिन्छन् । दिउँसै सन्नाटा छाएको यो गाउँ केही वर्षअघिसम्म गुल्जार थियो ।
यहाँका किसान मकै, गहुँ, मास, भटमास, सिमी फलाउँथे । उब्रेको उत्पादन ३० मिनेटको पैदल दूरीमा रहेको सीमापारि झुलाघाट बजारमा बेच्दा जीवन राम्रैसँग धानिएको थियो । तर, केही वर्षयता गाउँमा बाँदर आतंक फैलिएको छ । बाँदरले खेतबारीका अन्न, फलफूल मात्रै होइन, घरभित्रको सामानसमेत उठाएपछि बसिनसक्नुभएको छ । बाँदरकै कारण धेरैले गाउँ छाडेका छन् । गाउँमै बसिरहेकाहरू गरिखानु न मरिजानुको अवस्थामा छन् । ‘पहिले खेतबारीको बाली नचलाउने बाँदरले अहिले घरभित्रको पनि बाँकी राख्दैन,’ धौल्यालीकी ५० वर्षीया पुष्पा बोहरा भन्छिन्, ‘पाकेको खाना लुटिदिने, पानीको भाँडो घोप्ट्याइदिने गर्न थालेपछि बसिसक्नु छैन ।’ बाँदरको उपद्रो सुनाउँदै उनले थपिन्, ‘खेतबारीमा छरेको बीउसमेत बाँकी राख्दैन, मान्छे नहुँदा घरको छाना उप्काएर भित्र पस्छन् । झ्याल, ढोकै फोरेर विध्वंस मच्चाउन थालेका छन् ।’
गत माघ १ मा सुदूरपश्चिमभर माघेसंक्रान्तिको रौनक थियो । रोजगारीका लागि कालापहाड गएकाहरू फर्किसकेका थिए । विवाहित छोरीचेली माइती आएका थिए । यो रमाइलो चहलपहलका बीच दशरथचन्द–१० सतपालीका खिमराम लावडको परिवार एकाबिहानै घरमा ताल्चा लगाएर निस्कियो ।
आफ्नै र केही भाडामा लिएको जग्गामा खेती गरेर परिवार धान्दै आएका लावड बाँदरले हैरान बनाएपछि श्रीमती, छोरा र छोरीसहित भारत हिँडेका हुन् । ‘मिहिनेती मान्छे हुन्, बाँदर नलाग्दासम्म खेतीपातीबाटै पुग्दो थियो,’ छिमेकी प्रकाश लावडले भने, ‘बाँदरले केही बाँकी राखेन । गाउँमा बालबच्चा पाल्नै नसक्ने भएपछि मजदुरी गर्न कालापहाड गए । कुनै दिन फर्किएछु भने भेट होला, घरको हेरचाह गरिदिनु भनेका छन् ।’
भारतको वनवासामा भेटिएका खिमरामले भने, ‘त्यत्रो पसिना बगाएर बनाएको घर र खेतीपाती छोड्ने मन त थिएन तर, बाँदरले अति नै गर्न थाले । मान्छे भए उजुरबाजुर लाग्थ्यो होला । बाँदरलाई के गर्नु ?’ बैतडीका दशकअघिसम्म हराभरा गाउँहरू बाँदरको उपद्रोले यसै गरी मानवविहीन बन्न थालेका छन् । खेती हुँदै आएको जमिन बाँझिएको छ ।
धौल्यालीकै छिमेकी गाउँ तोलीका १५ मध्ये ५ घरमा मात्र मानिस बस्छन् । गोल्देउ गाउँमा चार परिवार मात्र बाँकी रहेपछि बाँकी ५३ घर जीर्ण भएका छन् । दशरथचन्द नगरकै १० नम्बर वडामा पर्ने भटाला गाउँका ३५ परिवारले पुरानो थलो छाडिसके । बाँकी २५ परिवारले पनि खुट्टा उचालिसकेको पूर्ववडाध्यक्ष गगनसिंह भण्डारी बताउँछन् । उनी भन्छन्, ‘गाउँ त अब कहाँ रह्यो र ! सबैतिर बाँदरकै कब्जा छ ।’
दशरथचन्द–५ को तल्लीआयत गाउँका ५१ मध्ये ३७ परिवारले घर छाडिसकेका छन् । बाँकी १४ घरमा पनि उमेर ढल्केका मात्र बाँकी छन् । स्थानीय शिक्षक राजु लेखक वृद्धवृद्धाले मात्रै गाउँ छाड्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘छोराछोरीले छाडेर गए पनि घरका देवतालाई पोखल (पूजा सामग्री) चढाउन छाड्नुहुँदैन भन्ने मान्यताले उनीहरू बसिरहेका हुन् ।’ घर रुँगेर बसेकालाई गएकाहरू फर्किएलान् भन्ने आशा पनि छैन । ७९ वर्षीय वीरपल दमाई भन्छन्, ‘१२ जना छोराबुहारी र २० जना नातिनातिना लाखापाखा लागिसके । मचाहिँ सालनाल गाडेको ठाउँमा परान छोड्ने भनेर कुरिरहेको छु ।’

ॅपहिला बेच्थ्यौं, अहिले किनेको खान मुस्किल’
दशरथचन्द–८ को नलतडीमा १० वर्षअघिसम्म ३० परिवारको बसोबास थियो । महाकाली किनारको यो गाउँमा करिब १ हजार ५ सय रोपनी खेतमा खोलाको पानी लाग्छ । गाउँकै एकछेउको ४० रोपनी जग्गामा फलफूल र तरकारी खेती गर्ने डम्बरसिंह थापाले पोलिहाउस बनाएर बेमौसमी तरकारी फलाउँथे । बगैंचामा आँप, केरा, कागतीलगायत फलफूल लटरम्म हुन्थे । तर, बाँदर आतंक सुरु भएपछि छिमेकीहरू गाउँ छाडेर हिँड्न थाले । हेर्दाहेर्दै पूरै गाउँ उठेपछि गएको हिउँदमा डम्बर पनि नजिकै भट्टाडमा बसाइँ सरे ।
पछिसम्म जेनतेन गाउँमै बसिरहेका डम्बर भन्छन्, ‘गाउँले सबै हिँडेपछि त बाँदरको हूलले मलाई नै निसाना बनाए । बारीको तरकारी, फलफूल खाइदिने मात्रै होइन, घरभित्रको चिजबिज पनि जोगिएन ।’ अहिले गाउँ रित्तो छ । नलतडी गाउँका जीर्ण घरहरू झाडीभित्रै हराएका छन् । गाउँमा दिउँसै बँदेल, रतुवा, घोरल, चितुवा देखिन्छन् ।
केही वर्षअघिसम्म खेतीपातीबाट पर्याप्त आम्दानी गरिरहेकाहरू अहिले किनेर ल्याएको सामान पनि सन्तोषले खान पाउँदैनन् । १५ वर्षअघि बिहे गरेर लीला गुरु आठबिसी आउँदा गाउँका सबैले खेतीपाती गर्थे । उनको परिवारले करिब १० रोपनी जमिनमा गरेको खेतीबाट वर्षभरि खान पुग्थ्यो । बढी भएको दाल र मकै बेच्दा अन्य गर्जो टर्थ्यो । दशरथचन्द–८ की वडासदस्य लीला भन्छिन्, ‘अहिले जमिन बाँझै छ । किनेरै ल्याएको पनि बाँदरबाट जोगाउन सके मात्र खान पाइन्छ ।’
दशरथचन्द नगरपालिकाको तथ्यांकअनुसार बाँदरले बढी सताएका चारवटा वडामा ७५ हजार १ सय ४ रोपनी जग्गा बाँझो छ । यस क्षेत्रको १ हजार ३ सय २३ रोपनी जमिनमा मात्र खेती गरिए पनि त्यसमा बाँदरले दुःख दिइरहेको नगरपालिकाका अमिन महादेव भट्ट बताउँछन् । बाँदरले उपद्रो मच्चाउन थालेपछि बैतडीको दोगडाकेदार–४ का किसानले पनि खेतीपाती गर्न छाडेका छन् । किसान हरिशरण भट्ट भन्छन्, ‘घरभित्र पसेका बाँदर लखेट्न पनि गाउँलेको हूल नै चाहिन्छ । एक–दुई जनालाई टेर्दैनन् ।’ बाँदरको उपद्रो कतिसम्म छ भने बाटोमा एक्लै हिँडेका महिला र बालबालिका भेटे झम्टिन्छन् । गाउँको पीपल चौतारीमा पनि बाँदरले बस्नै दिँदैन । पूर्ववडाध्यक्ष सुरेन्द्र भट्टले सुनाए, ‘मेरै खेतमा सात, आठ क्विन्टल मकै फल्थ्यो । सरकारले मकै जोन घोषणा गरेको थियो । तर, अहिले यहाँ मकैको रोटी खान पाइँदैन ।’ उनका अनुसार भारतीय सीमा क्षेत्रबाट सुरु भएको बाँदरको प्रकोप बिस्तारै अन्य ठाउँमा फैलिएको हो ।
बाँदरको त्रासले सदरमुकामसमेत रहेको दशरथचन्द– ५, ६, ८ र १० नम्बर वडामा पर्ने धौल्याली, साङडी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौंडाली, आइत, भटाला, झाका, बुड्डा, खडेनीलगायत गाउँबाट सयौं परिवारको उठीबास लागिसकेको छ । बाँदरको प्रकोप छिमेकी दोगडाकेदार गाउँपालिकामा पनि सुरु भएको छ ।
‘पहाडबाट हुने खानेहरू तराई झर्ने चलन त पुरानै हो तर, सदरमुकाम भएकाले हाम्रोतिर निकै कम थियो,’ दशरथचन्द नगरपालिकाका पूर्वप्रमुख नरेन्द्र थापा भन्छन् । बाँदर आतंकले आजित भएर गाउँ छाड्नेमध्ये आर्थिक अवस्था राम्रो भएकाहरू तराईतिर सरे र नहुनेहरू मजदुरीका लागि भारत जाने गरेको उनले बताए । भन्छन्, ‘तराई झर्नेभन्दा भारततिर जानेकै लर्को ठूलो छ ।’ नेपाल–भारतको सीमा नदी महाकालीसँग जोडिएका यी गाउँहरू रित्तिँदै जाँदा नगरपालिकाको जनसंख्याको ग्राफ ओरालो लागेको छ । २०७४ मा साबिकका थप पाँच गाविस गाभेर दशरथचन्द नगरपालिकाको जनसंख्या ३६ हजार ९ सय ४७ पुगेको थियो । तर, २०७८ को जनगणनामा ३१ हजार ७ सय ८६ मा झरेको छ । नगरपालिकाको पञ्जीकरण शाखाको अभिलेखअनुसार वडा नं. ५, ६, ८ र १० बाट पछिल्लो ५ वर्षमा ४ सय ८३ परिवारले बसाइँ सराइको प्रमाणपत्र लिएका छन् । नेपालभित्रै बसाइँ सरेर गएकाले यी परिवारहरूको अभिलेख नगरपालिकासँग भएको तर भारत जानेको अभिलेख नभएको नगरपालिकाका सूचना अधिकारी राजु विष्टले बताए ।
बाँदरकै त्रासले गाउँले विस्थापित भएपछि विद्यार्थी अभावमा नगर क्षेत्रका थुप्रै विद्यालय बन्द भइसकेका छन् । चलिरहेका कतिपय विद्यालयमा विद्यार्थी संख्या दोहोरो अंकमा पनि छैनन् । धौलेली गाउँको कैलपाल आधारभूत विद्यालयमा १८ जना भर्ना भए पनि पढ्ने विद्यार्थी ६ जना मात्रै छन् । ‘यहाँका बासिन्दाले गाउँ छोडिसके, विद्यार्थी कहाँबाट हुनु,’ शिक्षक मञ्जु थापा भन्छिन्, ‘६ जना शिक्षक छौं, नियमित विद्यालय आउने ६ जना विद्यार्थी पढाइरहेका छौं ।’
८ नम्बर वडामा रहेको रणसैनी आधारभूत विद्यालय बन्द भइसकेको छ । वडा नम्बर १० का शान्ति आधारभूत विद्यालय, ज्ञानेश्वर आधारभूत विद्यालय र वडा नम्बर ६ को जगन्नाथ आधारभूत विद्यालय पनि बन्द भएका छन् । विद्यार्थी संख्या कम भएर वरपरका विद्यालय बन्द भएपछि साङडी गाउँका १५ जना विद्यार्थी सीमापारि भारतका विद्यालयमा जाने गरेका छन् । प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द थोरै विद्यार्थीका लागि धेरै स्रोत खर्च हुन थालेपछि मापदण्ड तोकेर विद्यालय बन्द गर्ने वा मर्ज गर्ने अभियान चलाएको बताउँछन् ।

भारतबाट आए बाँदर !
बैतडीमा आतंक मच्चाइरहेका बाँदर नेपालका नभई भारतबाट ल्याएर छोडिएका स्थानीय बासिन्दा बताउँछन् । ‘इन्डियाबाट ट्रकमा ल्याएर झुलाघाटमा छोड्ने गरेका छन् भन्ने सुनिन्छ । तिनै बाँदर यहाँ आएका हुन्,’ दशरथचन्द–१० का वडाध्यक्ष त्रिलोक सिंह विष्ट भन्छन् । २०२२ फेब्रुअरी १९ मा भारतीय पत्रिका द टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टमा हरिद्वारबाट बाँदरहरू समातेर सीमा क्षेत्रमा छोड्ने गरिएको उल्लेख छ । पछिल्लो समय गाउँमा देखिएका बाँदर बढी आक्रामक भएको दशरथचन्द–५ का वासुदेव भट्ट बताउँछन् । ‘यहाँका रैथाने बाँदर साना हुन्छन् र मान्छेसँग डराउँछन्’ उनी भन्छन्, ‘अहिलेका बाँदर दाह्री भएका, कसैसँग नडराउने हट्टाकट्टा छन् ।’ रैथाने बाँदर कुकुरसँग डराउँथे । तर, अहिलेका बाँदर तीन चारवटा मिलेर कुकुरलाई समेत तर्साउने गरेको उनले सुनाए ।
चार वर्षअघि पिथौरागढ–झुलाघाट सडकको खरक्यौडा भन्ने ठाउँमा दुई ट्रक बाँदर ल्याएर छाडिएको दशरथचन्द–६ का गोविन्दराज जोशीले बताए । उनले भने, ‘म औषधि किनेर पिथौरागढबाट आउँदै थिएँ, जाली लगाएको ठूलो ट्रकको पछाडिको भाग तीन–चार जना मिलेर खोलेपछि डेढ–दुई सय बाँदर हुरुरु जंगलतर्फ भागे ।’
भारतीय बजार झुलाघाटवासी र त्यहाँका जनप्रतिनिधिले पनि भारतका विभिन्न ठाउँबाट बाँदर ल्याएर यहाँ छोड्ने गरिएको बताएका छन् । ‘मैले पनि सुनेकी छु, हरिद्वार, हल्द्वानीबाट ल्याइएका बाँदर यहाँको वनमा छोडिदिन्छन् अरे । आफैंले देखेकी त छैन,’ भारत उत्तराखण्डको मजिरकाँडा ग्राम पञ्चायतकी अध्यक्ष किरन भट्टले हिन्दीमा भनिन्, ‘सीमाको छेकबार नलाग्ने तिनै बाँदर नेपालतर्फ गएका हुन सक्छन् ।’ बाँदरको उपद्रो भारततर्फ पनि नेपालमा जस्तै रहेको र नियन्त्रणका प्रयास सफल हुन नसकेको उनले बताइन् ।
उत्तराखण्ड राज्यको वन एवं पर्यावरण विभागका एडिसनल सेक्रेटरी डा. धरम सिंह मिणाका अनुसार हिमाञ्चल र उत्तराखण्डमा १० वर्षयता लाखौंको संख्यामा बाँदरलाई पक्रेर ‘बन्दरबाडा’ (ठूलो क्षेत्रमा थुनेर) मा पाल्ने गरिएको छ ।
‘बन्दरबाडा’ मा राखिएका ती बाँदरमध्ये केही फुत्किएर सीमा क्षेत्रका पहाडमा गएको हुन सक्ने उनी बताउँछन् । भन्छन्, ‘बन्दरबाडाबाट निस्किएका बाँदरहरू नेपालतर्फ पनि पुगेका होलान् ।’ बाँदरकै कारण महाकाली नदीको तटीय क्षेत्र झुलाघाटको मलिलो खेतमा खेती हुनै छाडेको भारतीय नागरिक निशा भट्ट बताउँछिन् । उनको भनाइलाई समर्थन गर्दै झुलाघाटकै बासिन्दा हरिबल्लभ भट्ट थप्छन्, ‘२० वर्ष अगाडि यहाँ बाँदर थिएनन्, यी बाँदर बाहिरबाट ल्याइएका हुन् ।’
भारतका उत्तराखण्ड, हिमाञ्चललगायत ठाउँमा बाँदरको आतंक बढ्दै गएपछि नियन्त्रणका लागि बाँदर मार्ने, बन्ध्याकरण गर्ने, पक्रेर सीमा क्षेत्रमा छोड्ने जस्ता प्रयास भए । तर, बाँदर नियन्त्रणका लागि भएका यस्ता प्रयास सफल हुन नसकेको बीबीसी, द गार्जियनलगायत अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । सन् २०१८ सम्ममा भारतको हिमाञ्चल प्रदेशमा मात्रै १ लाख ४३ हजार बाँदरको बन्ध्याकरण गरिएको बीबीसी हिन्दीले लेखेको छ ।
बाँदर आतंक नियन्त्रणका लागि भारतमा थुप्रै प्रयास भइरहे पनि ती आंशिक सफल मात्र भएको भारतीय अधिकारीहरू बताउँछन् । उत्तराखण्डका वन एवं पर्यावरण विभागका एडिसनल सेक्रेटरी डा. मिणा उत्तराञ्चल र उत्तराखण्डमा १० वर्षयता लाखौंको संख्यामा बाँदर पक्रिएर बन्ध्याकरण गरेपछि त्यसले बाँदरको संख्या घटाउन केही मद्दत पुगेको बताउँछन् । पछिल्लो समय बाँदरलाई गर्भनिरोधक औषधि (पिल्स) खुवाउने परियोजना परीक्षणको क्रममा रहेको उनले जानकारी दिए । ‘तर बाँदर एक वर्षमा दुई पटक ब्याउने भएकाले यिनीहरूको संख्या निकै छिटो बढ्छ,’ उनी भन्छन् । नेपाल र भारतमा पाइने बाँदर उस्तै प्रजातिको रातो भएको बताउने त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. लक्ष्मण खनाल बैतडीमा देखिने बाँदर भारतबाट ल्याएर छोडिएका वा नेपालकै रैथाने पनि हुन सक्ने बताए ।
‘त्यहाँका बाँदरहरू बढी आतंकित जस्ता छन् । मानिसले बन्दुक वा गुलेली हान्ने गरेका कारण तर्सिएर बढी आक्रामक भएका हुन सक्छन् । भारतबाट समातेर यता छाडिएका कारण पनि त्यसो भएको हुन सक्छ,’ उनले भने । भारत, उत्तराखण्डका वन एवं पर्यावरण विभागका एडिसनल सेक्रेटरी डा. मिणा पनि पक्रिएर छोडिएका बाँदर बढी आक्रामक हुने गरेको बताउँछन् । बाँदरका कारण मानिस विस्थापित हुन थालेपछि २०७५ साल वैशाखमा सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बाँदर र मानवबीचको द्वन्द्वबारे अध्ययन गरेको थियो । उक्त टोलीको अध्ययन प्रतिवेदनमा बैतडीमा भेटिएका बाँदरहरू सामान्य बाँदरभन्दा बढी चतुर र आक्रामक भएको उल्लेख छ ।
प्रतिवेदनमा बाँदर बाह्रैमास गाउँकै आसपास बस्ने गरेको, खेतबारीमा लगाएको अन्न र फलफूल पाक्नुअगावै नष्ट गर्ने र बारम्बार आक्रमण गर्ने गरेकाले यहाँको अवस्था गम्भीर रहेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ– बाली वा खाद्यान्न जोगाउन मानिस चौबीसै घण्टा सतर्क रहनुपर्ने अवस्था छ । महिला र बालबालिकाप्रति बाँदर बढी आक्रामक छन्, दिउँसै झ्यालढोका बन्द गरेर बस्नुपर्ने अवस्था छ ।
उक्त प्रतिवेदनमा पनि भारतका धेरै ठाउँबाट बाँदरलाई समातेर अन्यत्र छोड्ने गरिएको उल्लेख छ । उपयुक्त पुनःस्थापना प्रोटोकलबिना स्थानान्तरण गर्दा समस्याको समाधान नभई मानव र वन्यजन्तुबीचको द्वन्द्वको स्थानान्तरण मात्रै हुने पनि प्रतिवेदनमा उल्लेख छ ।
बैतडी क्षेत्रमा जंगलको अनुपातमा बाँदरको संख्या धेरै भएकाले समस्या आएको अध्ययन टोलीका सदस्यसमेत रहेका वन्यजन्तुविज्ञ धीरेन्द्रबहादुर चन्द बताउँछन् । रातो बाँदर सामान्यतया ३० देखि ३५ वटाको समूहमा देखिने गरेको भए पनि बैतडीमा एउटै समूमा ८०/९० वटासम्म देखिएका छन् । चन्द भन्छन्, ‘यस्तो विरलै हुन्छ, वनजंगलको खण्डीकरण भएका कारण बाँदरहरू बस्तीतर्फ आएका हुन् ।’
बाँदरलाई रोक्न स्थानीय सरकारहरूले प्रयास नगरेका होइनन् । यद्यपि, ती प्रयास सफल भएका छैनन् । दशरथचन्द नगरपालिकाले २०७४ साउन २६ मा पहिलो नगरसभाबाट बाँदर नियन्त्रणका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । सोहीअनुसार २६ फागुनमा स्थानीय अगुवा राजेन्द्र भट्टको नेतृत्वमा बाँदर लखेट्ने योजना बन्यो । नगर प्रमुख नरेन्द्र थापा, वडा ५ का अध्यक्ष नारायण भट्टसहित करिब ४ सय बासिन्दा दशरथचन्द–५ को कलुवाडको मोडमा भेला भए । धेरैका हातमा गुलेली र मट्याङ्ग्रा थिए । कसैले भाला बोकेका थिए । उक्त हूलमा केही थान भरुवा बन्दुक पनि थिए । सबैको एउटै लक्ष्य थियो, नगर क्षेत्रबाट बाँदर लखेटेर १५ किलोमिटर पश्चिम महाकाली कटाउने । कलुवाड मोडमा धूप–बत्ती बालेपछि बाँदर लखेट्न सुरु गरियो । त्यसक्रममा भरुवा बन्दुकबाट केही बाँदर मारिए । यो खबर प्रहरी हुँदै तत्कालीन प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीसम्म पुग्यो । प्रजिअ जोशीले मेयर थापालाई तत्काल फोन गरेर बाँदर लखेट्ने कार्य बन्द गर्न निर्देशन दिए । त्यसपछि त्यो कार्यक्रम त्यसै तुहियो ।
२०७७ साउन १३ मा पनि दशरथचन्द नगरपालिकाकी उपमेयर मीना चन्दलगायत जनप्रतिनिधि र कर्मचारी वडा ५ को कार्यालयमा भेला भए । दुईवटा बोलेरो जिप पनि भरुवा बन्दुकजस्तै देखिने यन्त्र बोकेर त्यहीं आइपुगे । ठूलो आवाज निकालेर पड्कने त्यो यन्त्र किसानहरूलाई दिइयो । स्याङ्जा भीरकोटका भविश्वर कोइरालाले बनाएको ‘बाँदर धपाउने यन्त्र’ (मंकी गन) सुरुमा ५ लाख खर्च गरेर १०० वटा र त्यसपछि थप २५ वटा वितरण गरियो ।
‘सुरुमा त मंकी गनको आवाजले बाँदर भागे,’ दशरथचन्द–५ का शिक्षक राजु लेखक भन्छन्, ‘केही दिनपछि डराउनै छाडे, बरु चलाउन नजानेर केही व्यक्ति घाइते भए ।’ शिक्षक राजेन्द्र भट्टको अगुवाइमा बाँदर विशेषज्ञ डा. मुकेशकुमार चालिसेसहितको टोली ल्याएर मानव–बाँदर द्वन्द्वको कारण तथा व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम पनि गरियो । नगर प्रमुख पुष्करराज जोशीले बाँदर आतंक नगरपालिकाभित्रको ठूलो समस्या भएकाले विज्ञ र स्थानीय बासिन्दासँग छलफल गरेर अगाडि बढ्ने योजना सुनाए । ‘परम्परागत बाली जोगाउन सम्भव देखिएन । अब कृषिको बजेट वैकल्पिक खेती प्रणालीमा खर्च गर्ने सोचेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द भन्छन् । नगरपालिकाको यो योजनामा स्थानीय युवाहरू पनि सहमत छन् । पाखो जमिनमा टिमुर, कागती, निबुवा जस्ता काँडा हुने प्रजातिका वनस्पतिको खेती गर्ने हो भने बाँदरले पनि असर नपार्ने हिम्मत चन्द बताउँछन् । भन्छन्, ‘नगरपालिका, कृषक र लगानीकर्ता मिलेर वैकल्पिक खेतीतर्फ लाग्ने हो भने सफल हुन सक्छ ।’ बाँझो खेतमा घाँस रोपेर बाख्रापालन गर्न सकिने विकल्पसमेत रहेको उनको भनाइ छ ।
विज्ञहरू भने बाँदर आतंक नियन्त्रण गर्न वन्यजन्तु पाल्ने स–साना चिडियाखाना बनाएर वा प्रत्येक प्रदेशमा औषधि विज्ञान प्रयोगशाला स्थापना गर्न सकिने बताउँछन् ।

समाचार

मौसमी कामदारमा कोरिया लैजाने भन्दै रकम असुली

- होम कार्की

(काठमाडौं)
वैदेशिक रोजगार विभागले मौसमी कामदारमा दक्षिण कोरिया पठाउने भन्दै पैसा असुल्ने कुनै पनि व्यक्ति र संस्थाको भ्रममा नपर्न र रकम नबुझाउन अनुरोध गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै मौसमी कामदारसम्बन्धी कुनै जानकारी आवश्यक भए स्थानीय निकायको आधिकारिक पदाधिकारी, विभाग वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्नसमेत भनेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका–२०७९’ जारी गरेको छ । यो निर्देशिका जारी भएपछि स्थानीय तहहरूले दूतावासमा मागपत्र प्रमाणीकरण गरी कामदार भर्ना प्रक्रिया सुरु गर्न पाउने कानुनी व्यवस्था छ । सरकारले निर्देशिका जारी गरेपछि एजेन्टहरूले स्थानीय निकायले माग ल्याएको भन्दै इच्छुकहरूसँग १० लाख रुपैयाँसम्म रकम उठाउन थालेका छन् । जथाभावी रकम उठाउने प्रवृत्ति बढेपछि वैदेशिक रोजगार विभागमा विभिन्न माध्यमबाट उजुरी आउने क्रम सुरु भएको छ । रकम बुझाउनेहरूले भने औपचारिक रूपमा उजुरी दर्ता गरेका छैनन् । ‘मौसमी कामदारका रूपमा जानेहरूसँग रकम उठाउन थालिएको सूचना प्राप्त भइरहेका छन्,’ विभागका प्रवक्ता कृष्णप्रसाद भुसालले भने, ‘विभिन्न व्यक्तिले भ्रामक सूचना फैलाई रकम उठाएको जानकारी आएको छ ।’
विभागका महानिर्देशक उमाकान्त आचार्यले कुनै पनि स्थानीय निकायले मौसमी कामदार पठाउन मागपत्र प्रमाणीकरण नगरेको बताए । ‘मौसमी कामदार माग गर्ने र पठाउने सम्बन्धमा प्रारम्भिक प्रक्रियाका लागि सम्बन्धित नियोग र यस विभागमा हालसम्म कुनै डकुमेन्ट पेस भएको छैन,’ उनले भने, ‘दक्षिण कोरियामा मौसमी कामदार लैजाने प्रक्रियाबारे बुझ्न स्थानीय तह नै आएका छैनन् । उनीहरूले मागपत्र प्रमाणीकरण नगरेसम्म भर्ना प्रक्रिया सुरु हुँदैन ।’
विभागले मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति–संस्थाको भ्रममा नपर्न र रकम नबुझाउन अनुरोध गरेको छ । ‘निर्देशिकाअनुसार तीन महिनादेखि बढीमा एक वर्षसम्मको करार अवधिसम्म काम गर्न जान पाइनेछ । यसका लागि स्थानीय तहले दक्षिण कोरियास्थित नेपाली दूतावासमा रोजगारदाताको पूर्ण विवरण, रोजगारीको किसिम, न्यूनतम सेवा र सुविधा, आवास, खाना, स्वास्थ्य बिमा र कामदारको सुरक्षालगायत खुल्ने गरी कागजात पेस गर्नुपर्छ । यो काममा जानका लागि प्रवेशाज्ञा लिँदा लाग्ने शुल्क तथा कामदार पठाउँदा लाग्ने अन्य शुल्क रोजगारदाताले बेहोर्ने सुनिश्‍िचत गर्नुपर्छ । ‘नेपालबाट कामदार छनोट गरी सम्बन्धित मुलुकमा नपुग्दासम्म छनोट भएको कामदारले कुनै शुल्क बुझाउनु नपर्ने तथा मौसमी रोजगारको अवधि समाप्‍त भएपछि रोजगारदाताको खर्चमा स्वदेश फर्काउने कुराको प्रत्याभूति गर्नुपर्छ,’ निर्देशिकामा प्रस्ट छ ।
मौसमी काममा जानका लागि स्थानीय तहले वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृतिसमेत लिनुपर्ने व्यवस्था छ । त्यसका लागि स्थानीय तहले विभागबाट मागपत्र प्रमाणीकरण भएपछि मौसमी रोजगारीका लागि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिसँग आवेदन माग गरी सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेछ । ‘पालिकाले जातीय, लैंगिक र उमेरगत विविधता कायम हुने उम्मेदवार छनोट गरी माग गरिएको संख्यामा मुख्य सूची र सोको बढीमा १० प्रतिशत संख्यामा वैकल्पिक सूची तयार गरी विभागमा पठाउनु पर्नेछ, यसको सूची विभागले वेबसाइटमार्फत प्रकाशन गर्नुपर्नेछ,’ निर्देशिकामा उल्लेख छ, ‘छनोट भएपछि दुई दिनको अभिमुखीकरण, बिमा, स्वास्थ्य परीक्षण गर्नुका साथै कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्छ । त्यसपछि मात्रै श्रम स्वीकृति मिल्नेछ ।’
महानिर्देशक आचार्यले मौसमी कामदार पठाउने एउटा विधि भएकाले जथाभावी रकम नतिर्न आग्रह गरेका छन् । ‘कामदार छनोट विधि छ, माग आए/नआएको खबर स्थानीय तहमा प्रस्ट थाहा हुन्छ, सबै सूचना पारदर्शी हुन्छ,’ उनले भने । यसअघि भने मौसमी कामदार पठाउने निर्देशिका नहुँदा पालिकाहरूले आफूखुसी कोरियामा मौसमी कामदार पठाएका थिए । त्यसरी पठाएका कामदार धेरैजसो कोरियामा गैरकानुनी हैसियतमा बसेका छन् । कोरियाले सन् २०२३ मा नेपालसहित स्रोत देशबाट करिब ५० हजार मौसमी कामदार लैजाने योजना बनाएको छ ।

 

Page 6
सम्पादकीय

प्रधानमन्त्रीको अकूटनीतिक कदम

- कान्तिपुर संवाददाता

 

प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम घडीमा रोकिदिएर अपरिपक्वता प्रदर्शन गरेका छन् । घरेलु राजनीतिको रस्साकस्सीमा आफ्नै सरकार र मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई समेत यसरी दाउमा लगाउनु सर्वथा अनुचित छ ।
राष्ट्रपति उम्मेदवार चयनसँगै बदलिएको राजनीतिक समीकरणका कारण एमालेलाई सन्देश दिन चालिएको यस कदमले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा सही सन्देश गएको छैन । आन्तरिक राजनीतिक खपतका लागि गरिएको यस निर्णयले विश्व–मानव अधिकारका क्षेत्रमा नेपाललाई कच्चा साबित गरेको छ नै, घरेलु राजनीतिमै पनि यस्तो अभ्यासलाई सभ्य र सुसंस्कृत मान्न सकिँदैन ।
यसै पनि मानव अधिकारका क्षेत्रमा पछिल्ला वर्षहरूमा नेपाल सर्वत्र आलोचित छ । राज्य र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १६ वर्ष बितिसक्दा पनि संक्रमणकालीन न्याय टुंगिएको छैन । दसवर्षे द्वन्द्वको एउटा हिस्सा रहेको माओवादी अहिले चौथो पटक सरकारको नेतृत्वमा भए पनि द्वन्द्वोत्तर न्यायमा प्रगतिको छनक छैन । अझ, पछिल्लो समय त नेपालको मानव अधिकार आयोगकै गरिमामा गम्भीर प्रश्न छ । जेनेभास्थित राष्ट्रिय मानव अधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपाललाई ‘ख’ श्रेणीमा झार्न गरेको सिफारिसलाई टार्न सरकारले उल्लेख्य पहल गर्नुपर्ने अवस्था छ । दक्षिण एसियामा मानव अधिकारको क्षेत्रमा नेपाललाई पुनः कसरी सर्वोत्तम स्तरमा उकाल्न सकिन्छ भन्ने चिन्ता छ । यस्तो बेला बहालवाला परराष्ट्रमन्त्रीलाई जेनेभा प्रस्थानका लागि विमानस्थल जान लाग्दा जसरी रोकियो, त्यसले गलत नजिर स्थापित गरेको छ ।
राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन नेपाली टोली त्यसतर्फ उड्न लाग्दा पौड्याललाई मात्र रोकिएको हो । अहिले नेपाली टोलीको नेतृत्व पूर्वकानुनमन्त्री गोविन्द बन्दीले गरेका छन् । जेनेभा कसलाई पठाउने भन्नेमा सरकारले आफ्नो विवेक प्रयोग गर्न नपाउने होइन तर मन्त्रिपरिषद्बाट गरिएको निर्णयको अवज्ञा गर्दै अन्तिम प्रहरमा मुख्यसचिवलाई फोन गर्न लगाएर र प्रधानमन्त्री आफू भने सम्पर्कबाहिर रहेर मन्त्रीको भ्रमण रोक्नुचाहिँ कसै गरी सुहाउने कार्य होइन ।
निश्चय पनि मन्त्री पौड्यालको दल एमाले सत्ता–संकटमा थियो । यही प्रकरणपछि सोमबार त उसका मन्त्रीहरूले राजीनामा पनि बुझाइसकेका छन् । परन्तु यही कारण पौड्यालको भ्रमण रोक्नुको चाहिँ औचित्य पुष्टि हुन सक्दैन । उनले त्यहाँ राष्ट्रको प्रतिनिधित्व गर्ने थिइन्, आफ्नो पार्टीको होइन । त्यसैले प्रधानमन्त्रीलाई एमालेले तत्काल सत्ता छाडोस् भन्ने लाग्थ्यो भने पनि पौड्यालको भ्रमणसम्म कुर्न सक्ने धीरता प्रदर्शन गर्नैपर्थ्यो । पौड्यालले त्यहाँ गएर उल्टो नेपालको बद्ख्वाइँ गर्ने कुनै प्रमाण उपलब्ध भएको खण्डमा बाहेक यस्तो प्रत्युत्पादक निर्णय गर्नु हुँदैनथ्यो । यदि पौड्याललाई पठाउन मन थिएन भने मन्त्रिपरिषद्बाटै निर्णय गराउनु हुँदैनथ्यो । उता मन्त्रीको नेतृत्वमा नेपाली राष्ट्रिय प्रतिनिधिमण्डल सहभागी हुने कार्यतालिका बनेपछि गरिएको यस्तो खेलकुदबाट प्रधानमन्त्रीको अहम् तुष्टि त भयो होला, देशको साख भने गिरेको छ ।
फेरि, सुझबुझपूर्ण नेतृत्वले त अन्तर्राष्ट्रिय क्षेत्रमा घरेलु विपक्षीहरूबाट पनि लाभ लिन खोज्छ । खास राष्ट्रिय हितका सवालमा मुलुक एक ढिक्का छ भन्ने विश्व–सन्देश दिन पनि यसो गरिन्छ । भारतका तत्कालीन प्रधानमन्त्री पीभी नरसिंह रावले जेनेभामै भएको राष्ट्रसंघीय बैठकमा विपक्षी दलका नेता अटलबिहारी वाजपेयीलाई भारतको प्रतिनिधित्व गराएर पठाएको दृष्टान्त यहाँ स्मरणीय छ । नेपालमा त एमाले सत्ताबाट बाहिरिएको पनि थिएन । भ्रमणको सम्पूर्ण तयारी पनि मन्त्री नेतृत्वमै भएको थियो । तर पनि मन्त्रिपरिषद्कै निर्णयको खिलाफ उभिएर प्रधानमन्त्री दाहालले आत्मघाती कदम चालेका छन् ।
यसको अर्थ, मन्त्री पौड्यालको सट्टामा टोली नेतृत्व गरेका बन्दीको गुणवत्तामा शंका गरेको होइन । उनले पनि नेपाल हितमा आफ्नो विज्ञता प्रदर्शन पक्कै गर्लान् । तर यहाँ सवाल त्यो होइन, बहालवाला मन्त्रीलाई कुनै संगीन कारणबिनै किन फर्काइयो भन्ने हो । भनिरहनु पर्दैन, कूटनीतिमा ससाना भाव–भंगिमाको पनि गम्भीर अर्थ हुन्छ, जसमा सरकार सदैव सतर्क रहनुपर्छ । प्रधानमन्त्रीको यो कदमले भने मानव अधिकार क्षेत्रमा नेपाल गम्भीर छैन भन्ने सन्देश दिएको छ । जेनेभा सत्रमा भाग लिने सवाललाई नेपालले खेलाँचीका रूपमा लिएको अर्थ लागेको छ । त्यसैले सरकारले यो गल्तीलाई महसुस गर्न जरुरी छ । फेरि पौड्याललाई पठाएर गल्ती सच्याउन अब सम्भव छैन । तर मानव अधिकार क्षेत्रमा गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न तत्पर भएर र अबका दिनमा यस्ता गलत सन्देश बोक्ने अभ्यासहरू नदोहोर्‍याएर प्रधानमन्त्रीले आफू सुधारिएको प्रमाण पेस गर्न सक्छन्, र गर्नुपर्छ पनि ।

सम्पादकलाई चिठी

प्रवासीको योगदानको कदर खोइ ?

- कान्तिपुर संवाददाता


प्रमोद मिश्रको ‘नागरिकता र प्रवासी नेपाली’ लेख अत्यन्त सान्दर्भिक लाग्यो । एक पटकको नेपाली सदाका लागि नेपाली नै हुन्छन् । नेपालकै कुरा गर्छन्, समाचार हेर्छन्, पढ्छन्, चासो राख्छन् । यो कुरामा कुनै दुविधा छैन । त्यस्तै तिनले रेमिट्यान्स भित्र्याउने मात्र नभई नेपालको वेशभूषा एवं संस्कृति फैलाउन ठूलो योगदान पुर्‍याएका छन् । नेपालको पहिचान विश्व मञ्चमा स्थापित गर्ने भूमिका खेलेका छन् ।
तसर्थ बिदेसिएका लाखौं नेपाली नेपालको सम्पत्ति हुन् । उनीहरूको सीप, ज्ञान, धन एवं सम्पर्क देश विकास र हितमा प्रयोग गर्नुपर्छ । यसका लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । विदेशी नागरिकता लिनासाथ ‘तपाईं नेपाली रहनुभएन’ भन्ने कानुन र सोचले नेपालको हित गर्दैन । नागरिकता सम्बन्धी ऐनमा ‘विदेशी नागरिकता लिँदा नेपालको नागरिकता निष्क्रिय हुने’ वाक्यांश हटाई दोहोरो नागरिकताको प्रावधान गरेमा विदेशमा रहेका लाखौं नेपाली र समग्रमा नेपालको दीर्घकालीन हितमा हुनेथियो ।
– राजेन्द्र सञ्जेल, बुटवल

सम्पादकलाई चिठी

जाली तमसुक

- कान्तिपुर संवाददाता


राजाराम गौतमको ‘भद्र सहमति कि जाली तमसुक ?’ लेख सान्दर्भिक लाग्यो । मुलुक गणतन्त्रमा गएपछिका दिनहरूमा विभिन्न राजनीतिक दलका नेताहरूले केवल आआफ्नै स्वार्थसिद्धिका लागि सहमति नामक चाल र त्यसको पनि उल्लंघनका दृष्टान्त धेरै छन् । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर बनेको सहमति भत्किने र नयाँ सहमति बन्ने होडले राजनीतिक वृत्त तातेको देखिए पनि आम नागरिकमा देखिएको निराशा मुलुकका लागि हितकर देखिन्न । राजनीतिक सिद्धान्त, मूल्य, मान्यता तथा आदर्शका कुराहरू केही पनि होइनन्जस्तो गरी धोखाधडी र षड्यन्त्रलाई नै आफ्नो लामो राजनीतिक यात्राको अनुभव र लोकतन्त्रका लागि लडेको उपहारका रूपमा लिइँदा मुलुकका शीर्षस्थ नेताहरूबीचका भद्र सहमतिलाई पनि जाली तमसुकको संज्ञा दिनुपर्ने दिन आउनु भनेको समग्र मुलुकका लागि नै लज्जाकै विषय हो ।
– महेशप्रसाद ढुंगाना, नयाँ बानेश्वर, काठमाडौं 

सम्पादकलाई चिठी

अब्बल उम्मेदवारहरू

- कान्तिपुर संवाददाता


‘राष्ट्रप्रमुखको स्पर्धामा दुई पूर्वसभामुख’ समाचार दुई महिनामा ओली–दाहालको सम्बन्ध चिसिएका कारणसमेतले सत्ता समीकरणमा फेरबदल भई नयाँ गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार चयनसँग सम्बन्धित छ । राष्ट्रपति बन्ने प्रतिस्पर्धामा एमालेका सुवास नेम्वाङ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । दुवै उम्मेदवारले यसअघि सभामुखको भूमिकासमेत निभाइसकेका, लामो समयदेखि राजनीतिमा लाग्नुका साथै विभिन्न राजनीतिक, शासकीय पदको जिम्मेवारी वहन गरेका कारण निजहरूलाई परिपक्व र खारिएका नेतामध्येमा गणना गरिन्छ । यस अर्थमा जसले जित हासिल गरे पनि विकास कार्यमा अप्ठेरो
पर्ने देखिँदैन ।
तथापि विगतमा राष्ट्रपतिले कार्यकारीको भूमिका खेल्न खोजेको सन्दर्भ नियाल्नेहरूलाई अबका दिनमा पनि ‘कागलाई बेल पाकेर हर्ष न विस्मात’ जस्तो निराशाजनक मानसिकताले छोडेको छैन । यता पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, जनमत पार्टीहरू र जनमोर्चाको समर्थन छ भने राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली र संघीय समाजवादी पार्टीहरूले राष्ट्रपति निर्वाचनमा निर्णय सार्वजनिक गरेका छैनन् । अहिलेसम्मको स्थिति नियाल्दा पौडेल भारी मतले राष्ट्रपतिमा विजयी हुने देखिएका छन् । राष्ट्रपति जोसुकै भए पनि अभिभावकको भूमिका निर्वाह गर्दै सुधार गर्नुपर्ने पक्ष अनगिन्ती छन् । खास गरी उत्तरी र दक्षिणी छिमेकीसँगका कूटनीतिक सम्बन्ध अन्योलग्रस्त बन्दै आएको छ । कोही शासक, राजनीतिज्ञ उत्तरतर्फ त कोही दक्षिणतर्फ फर्केर धारेहात लगाउनमा अभ्यस्त छन् भने कतिपय सत्ताधारीलाई आफू केही नगर्ने र छिमेकीको समृद्धि देखेर मुख मिठ्याइरहने बानी परेको छ । देशभित्रको विकास सर्वत्र धराशायी बनिरहेको छ । तसर्थ ठूलो पदमा पुगेर उत्सव मात्र मनाउनेभन्दा निरन्तर मुलुकको दुरूह अवस्थाको व्यवस्थापनमा तल्लीन रहनु अपरिहार्य देखिन्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

सम्पादकलाई चिठी

देश जता जाला

- कान्तिपुर संवाददाता

हाम्रो देशको राजनीतिमा सम्भावना कति
कहिले यो छ वामपट्टि कहिले हामपट्टि
पानीजस्तै तरल बग्छ छैन कहिले स्थिर
कहिले लाग्ने बादलतिर कहिले पातालतिर
झुक्याइदिने मुक्याइदिने च्याप्पै खुट्टा तान्ने
जिम्मेवारी बिर्सिएर ढोक्सा मात्रै थाप्ने
कुर्सी पाउन भाग जोगाउन छेपारोको चाला
कसलाई चिन्ता कसलाई सुर्ता देश जता जाला ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

सम्पादकलाई चिठी

'गाउँ पस्यो नेटवर्किङ ठगी’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

- कान्तिपुर संवाददाता


जेजसरी भए पनि नेटवर्किङ ठगी उद्योग नै हो । यस्ता उद्योग पहुँचवालाकै समूहबाट सञ्चालन हुने गर्छ । उनीहरू कानुनी फन्दाबाट सजिलै उम्किन्छन् । ठगिने त सोझासाझा नै हुन्छन् । सोझो देख्नेबित्तिकै दोब्य्राउनै पाइन्छ त ?
– किरण अर्याल

कानुनको अभावभन्दा पनि कार्यान्वयनमा
कन्जुस्याइँ ! सहरका ठग्नु ठगे अब गाउँ पस्दै छन् ।
– विवेकचन्द्र ठकुरी

आफैं सचेत हुनु जरुरी छ ।
– कुल गुरुङ

नेपाली जनता सोझा छन्, जसले जे भने पनि मानिदिन्छन् । कहिले नेताले लुट्छन्, कहिले लघुवित्तले रुवाउँछन् । कहिले नेटवर्किङ गर्नेहरूले ।
– गणेश बस्नेत

निरीह कानुनका कारण ठगी मौलाएको हो । धेरै दाजुभाइ दिदीबहिनी ठगीमा परेका छन् ।
– लक्ष्मणकुमार खत्री

दृष्टिकोण

छोरीहरू हारेको देशमा

- सरिता तिवारी

मैले योनिमा
आफ्नै मृत्यु बोकेर
कतिन्जेल बाँच्नुपर्ने ?

कवि एलिसा एकलासको उपर्युक्त छोटो कविता पछिल्ला दिनमा यौनजन्य हिंसा र जबर्जस्ती करणीका प्रकरणमा प्रतिकारको आवाज लिएर सडक या सामाजिक सञ्जालमा आउनेहरूले छातीमा टाँसेर, हातमा बोकेर हिँडेको प्रश्नसमेत हो । उसै पनि कथित पारिवारिक मर्यादा र इज्जतका नाममा, समाजको भयमा, उजुरी/जाहेरीमा गएरै पनि न्याय पाइन्छ भन्ने आशाको अभावमा यौन हिंसाका घटना प्रहरी र अदालतसम्म पुग्नै मुस्किल छ । यति सामान्य कुरा तपाईं–हामी सबैले बुझेकै छौं । जन्मदेखि मृत्युसम्म इज्जतको डर देखाएर मुखमा बडेमानको मौनताको ताल्चा ठोकेर राखिएको महिलाको बँधुवा स्थितिलाई आज पनि समाजले स्थिरता र शान्ति ठान्छ । परम्परा र संस्कृति ठान्छ । भोग्नेले जेजे भोग्नुपरे पनि पल–पल मरेर प्रतिकार नगरी बस्नुलाई अनुशासन र शालीनता ठान्छ । यस्तो विडम्बना छ ! मैले हिंसा भोगें भनेर सुनाउँदा जो पीडित हो उसैको दोष देख्ने मानसिकता यति गहिरो छ कि, स्वयं हिंसाका पीडित भएर दमित अवस्थामा रहेका महिलासमेत मुख खोल्ने पीडित/सर्भाइभरका विपक्षमा उभिन्छन् । सुन्न र खप्न नसक्ने आरोप तेर्स्याउँछन् । यी सबै झेलेरै पनि न्याय पाऊँ भन्दै बल्लतल्ल साहस जुटाएर प्रहरीसम्म पुगेका, अदालतको दैलो टेकेका आमा–दिदी–बहिनी–छोरीको न्यायप्राप्तिको बाटो दुर्गम मात्रै होइन, भयंकर सकसपूर्ण बनाइएको छ । त्यसमा पनि प्रतिवादी ख्यातिप्राप्त र लोकप्रिय व्यक्ति रहेछ भने उसलाई सोझै अदालतको फैसलाबेगरै बेकसुर प्रमाणित गर्न ‘मिडिया ट्रायल र क्याम्पेनिङ’ नै चलाइन्छ । पीडकपक्षीय तर्क र आरोपलाई सदर गर्दै हिंसापीडित/प्रभावितलाई सास फेर्नै मुस्किल बनाइन्छ ।
धेरै लामा व्याख्या र उदाहरण चाहिएनन्, पछिल्लो वर्षदिनभरिमै नेपाली समाजले यसको अत्यन्तै तिखो र क्रूर रूप देखिरहेको छ । नाबालिकमाथि जबर्जस्ती करणीका दुई चर्चित मुद्दाले अहिले समाजको संरचनात्मक मनोदशा कतिसम्म डरलाग्दो रहेछ भन्ने छर्लंग पारेका छन् । सामाजिक सञ्जाल र मिडियामार्फत समाजको पुरुषकेन्द्री सहानुभूति र छुटको मनोविज्ञान यसरी प्रकट भएको छ, कानुनले माइनर (नाबालिग) भनेका विशेष न्यायिक नजरले हेर्नुपर्ने मुद्दालाई विभिन्न बहाना र प्रभावमा नाबालिगविरुद्धकै नजिर बनाउन न्यायालयभित्र र बाहिर गम्भीर चलखेल भएको स्पष्ट देखिएको छ । कसुरको संवेदनशीलता र पीडित/सर्भाइभरको कमजोर अवस्था (भल्नरेबिलिटी) लाई मध्यनजर राखेर न्याय निरूपण गर्नुपर्ने मुद्दाहरूलाई प्रतिवादीको नाम, ख्याति र सामाजिक पुँजी–प्रतिष्ठाका आडमा विषयान्तर गरेर अन्यायपूर्ण र त्रुटिपूर्ण फैसला हुने अवस्थामा पुर्‍याइएको छ ।
नाबालिगसँगको जबर्जस्ती करणी आफैंमा गम्भीर र जघन्य प्रकृतिको अपराध हो । यस्ता मुद्दामा कसुरको जघन्यतालाई कुनै पनि मनोगत तर्कले काट्न वा तथ्यको बेवास्ता गर्न मिल्दैन । यस्ता मुद्दामा कुनै किन्तु–परन्तु या छुट–संशयको अर्थ छैन । वारदात (जबर्जस्ती करणीको घटना) भएका बेला नाबालिग स्वयंले नै दिएको मन्जुरीलाई पनि मन्जुरी नमानिने कानुनी व्यवस्था भएको कुरा यहाँनेर बिर्सनै मिल्दैन । यस्ता मुद्दामाथि आमजनले हेर्ने दृष्टिका साथै प्रहरीले गर्ने अनुसन्धान, त्यसपछि सरकारी वकिलका तर्फबाट तयार पारिने अभियोजन र अन्तिममा अदालतको इजलासले प्रारम्भिक सुनुवाइदेखि फैसलासम्मका चरणमा अपनाउनुपर्ने न्यायिक विवेक अन्य मुद्दामा भन्दा किन फरक हुनुपर्छ भन्ने यसैले संकेत गर्छ । यसो नहुने भए कानुनमा मन्जुरी दिन सक्षम र अक्षम भनी उमेर र अवस्था तोक्नुपर्ने स्थिति किन राखिन्थ्यो ?
मुद्दाको जाहेरीवालाको उमेर पुगेकै स्थितिमा पनि कुटपिट गरी वा गर्ने धम्की दिई, बन्धक/गैरकानुनी थुनामा राखी, निद्रा वा अन्य कारणले अचेत रहेको, शारीरिक अशक्तताका कारण प्रतिकार गर्न नसक्ने अवस्थामा रहेको र जाहेरीवालाको स्वीकृतिबिना बेहोस हुने वा प्रतिकार गर्न नसक्ने पदार्थको सेवन गराई लिएको मन्जुरीलाई यौनसम्पर्कको मन्जुरी मानिँदैन भन्ने आधारभूत तथ्यको हेक्का सबैले राख्नुपर्छ । नाबालिगको हकमा त बालबालिका सम्बन्धी ऐन र विश्वव्यापी रूपमा लागू हुने बाल अधिकार महासन्धी लगायतका व्यवस्थाले पनि बालबालिका वादी रहेका मुद्दामा उनीहरूको सम्मान, संरक्षण र अधिकतम हितलाई मध्यनजर गरी प्रहरी, सरकारी वकिल र अदालतले उच्च संवेदनशीलता अपनाउनुपर्छ भन्ने कुरामा जोड दिन्छन् । यो कुरा तपाईं–हामी हरेकले बुझ्नुपर्छ ।
तर नेपालमा हाल नाबालिगकै मुद्दामाथि व्यक्त सार्वजनिक प्रतिक्रिया वा प्रतिवादीतर्फका पेसेवर वकिलहरूले पेस गरिरहेका दलिल र प्रमाण मात्रै होइन, आम मानिसको मनोविज्ञान निर्माण गर्ने सञ्चारमाध्यमका कथित ‘समाचार र विश्लेषण’ मार्फत कतिपय पत्रकार/सम्पादकसमेत नाबालिगको न्यायविरुद्ध एकमत भएर खनिएका देखिन्छन् । न्यायिक अनुसन्धानले कलाकार पल शाह र क्रिकेटर सन्दीप लामिछानेमाथिका अभियोग प्रमाणित गर्नु वा नगर्नुभन्दा अगावै केही सञ्चारमाध्यम, युट्युब च्यानल र समाजको पितृसत्तावादी मनोग्रन्थिलाई हात लिएर लोकप्रियता बटुल्ने अमुक ‘अभियन्ता’ भनाउँदाहरूले उनीहरूलाई चोख्याई नै सकेका छन् । यसो गर्न सम्बन्धित मुद्दाको वारदातका तथ्य होइन, मनोगत र कपोलकल्पित तर्कको आड लिइएको छ । ‘देशका गहनालाई केटी लगाएर फँसाएको’, ‘डलर पचाउन नियोजित रूपमै फलानाफलाना व्यक्तिलाई बलात्कारी प्रमाणित गर्न खोजिएको’, ‘करिअर समाप्त पार्ने षड्यन्त्र गरिएको’ लगायतका आधारहीन अभिव्यक्ति दिँदै हिँड्ने र पीडित/सर्भाइभरविरुद्ध अदालतसमेत प्रभावित हुने गरी लगातार ‘मास साइकोलोजी’ को आतंकदायी स्थिति सृजना गर्ने काम भइरहेको छ । अदालतमा विचाराधीन मुद्दाको जाहेरीवाला नाबालिगविरुद्ध यतिका समयदेखि अश्लील र असाध्य अपमानजनक शब्दको ओइरो–पहिरो नै खनिँदा, उनीहरूको सार्वजनिक जीवन र निजत्व तहसनहस गराइएर गुमनामीको अँध्यारोमा बाँच्न बाध्य पारिँदा यी सबै कुरालाई जायज र सामान्य मान्ने मनोविज्ञान झनै डरलाग्दो गरी हाबी भइरहेको छ ।
दलका नेताविशेषका तस्बिरमा छेडखानी हुँदा त्यस्तो कार्यको निषेधका लागि तुरुन्तै कानुनको खाँचो महसुस गर्ने मन्त्रिपरिषद् वा संसद्लाई यी मुद्दाका नाबालिगविरुद्धको ‘मास–साइबर क्राइम’ नियन्त्रण गर्न देशको साइबर कानुन बलियो र प्रभावकारी बनाउनुपर्ने खाँचो खट्किएकै छैन । परिवार र समाजको डर नाघेर अनेकौं लाञ्छना र चुनौतीका सम्भावना देखीदेखी पनि न्यायको गुहार गर्न अदालतको ढोकामा पुगेका छोरीहरूलाई पीडकले गरेको शारीरिक बलात्कारभन्दा कैयौंकैयौं गुणा भयावह स्वरूपको बलात्कार अहिले कथित अभियन्ता, विश्लेषक, कतिपय मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका छन् । यस्तो अवस्थालाई उपेक्षा गर्दै हालै उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई गरेको रिहाइ र उच्च अदालत पोखराले पल शाहलाई दिएको सफाइ नाबालिगमाथिको न्यूनतम मानवीय विवेकभन्दा पर र देशको प्रचलित कानुनको समेत विपरीत छन् । अहिले त सन्दीपलाई सर्वोच्च अदालतले देशबाहिर जानै अनुमति दिएको छ । यी दुवै प्रकरणमा न्यायालयले प्रदर्शन गरेको ‘पुअर जजमेन्ट’ को मूल्य आगामी दिनमा यस्ता अनेकौं मुद्दाका नाबालिग जाहेरीवालाहरूको आँसु र आत्महीनताले तिर्नुपर्नेछ । न्यायमूर्तिहरूको निर्विवेकी कठोर चित्तले यौन हिंसाविरुद्ध मुख खोल्न खोज्ने देशका कैयौं छोरीको न्यायको आशा र अपेक्षाको हत्या गरिदिएको छ ।
नाबालिगमाथिका यस्तै प्रकृतिका वा कतिपय त अझ कहालीलाग्दा प्रकरण प्रहरी र अदालतभित्र प्रशस्तै छन् । दुई हप्ताअघि मात्रै चितवन प्रहरीमा अत्यन्तै क्रूर यौन अपराधको एउटा जाहेरी परेको छ । चौध वर्षकी एक छात्रालाई बन्धक बनाएर यौनसम्बन्ध राख्न बाध्य पारी त्यसको भिडियोसमेत बनाएर त्यही भिडियो सार्वजनिक गर्दिन्छु भन्दै आठ महिनादेखि पटकपटक यौन यातना दिने शिक्षक सन्तोष क्षेत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । यस मुद्दाकी जाहेरीवाला पनि असामान्य स्तरको हिम्मत र संकल्पले प्रहरीसम्म पुगेकी हुन् । तर उनलाई संरक्षण र सुरक्षा दिने कुनै त्यस्तो सरकारी वा अर्धसरकारी संयन्त्र छैन जसले उनको न्यायका लागि लड्ने संकल्पलाई अन्तिमसम्म अविचल अड्याउन सकोस् । आठ महिनाभर उनले भोगेको मनोवैज्ञानिक ह्रासको क्षतिपूर्ति र अबका दिनलाई समेट्नुपर्ने अटल ऊर्जाको हिसाब त कसैले राख्नै सक्दैन । यो मुद्दालाई किनारामा पुर्‍याउन परिवार र शुभेच्छुहरूको निश्चित संख्याभन्दा बढी उनीसँग केही छैन । देशको न्यायालय पल शाहलाई कहिले वादीले अभियोग दाबी नै नलिएको बाल यौन दुरुपयोग अन्तर्गतको उदेकको फैसला गर्छ, कहिले वादीको अभियोग दाबी नै नपुगेको भनी सफाइ दिन्छ । यही बेलामा सन्दीप लामिछानेलाई पनि ‘गम्भीर अपराध नगरेको’ भन्दै धरौटीमा रिहा गरी खेल जीवनमा फर्काइएको छ । यसरी खेल्न फर्केका सन्दीप संलग्न खेल जितेको भन्दै प्रधानमन्त्रीले हात मिलाए । त्यही प्रसंगलाई सन्दीपका वकिलहरू उनको सफाइको प्रमाण मान्न आग्रह गर्दै इजलासलाई प्रभाव पार्दै छन् ।
रिहाइ र सफाइपछि पीडकहरू अबीर–फूलमालाले पुरिने र पीडितहरू पराजयले ह्याउ खसेर अँध्यारामा विलुप्त हुनुपर्ने विडम्बना उपल्लो अदालतमा नदोहोरियोस् । जिल्ला र उच्च अदालतका यी गम्भीर त्रुटि सर्वोच्च अदालतमा पुगेर सच्चिएनन् भने न्यायालयले अब भनिदेओस् कि यो मुलुकमा नाबालिगलाई भनेर बनाइएका कानुन सबै कागजी लिखत मात्रै हुन् । भनिदेओस्— जतिसुकै हिंसा भोग्नुपरोस्, छोरीहरू खपेर बस । न्याय माग्न नआऊ । पल शाह प्रकरणमा न्यायाधीशका लागि पीडितले बयान फेर्ने वा बयानमा कायम रहने कुरा नै निर्धारक हुन पुगेको हो भने पीडित नाबालिग हो, उसले कुन मनस्थिति र दबाबले बयान फेर्न पुग्यो भन्ने जाँच्नुपर्छ कि पर्दैन ? त्योभन्दा महत्त्वपूर्ण कुरा, प्रतिवादी पल शाह स्वयंले अदालतमा आफैंविरुद्ध हुने गरी सकारेका तथ्यको विवेकपूर्ण छानबिन गर्नुपर्छ कि पर्दैन ? ‘पब्लिक सपोर्ट’ को तुलो कतातिर गह्रुङ्गो छ भन्दै नापजोख गर्न पीडकका वकिललाई छुट छ तर न्यायाधीशलाई छैन । यस प्रसंगमा तल्लो अदालत चुकिसकेको छ । सर्वोच्च नचुकोस् ।
अहिले चर्चामा रहेका दुवै मुद्दामा स्पष्ट देखिने तथ्य हुन्— नाबालिग उमेरको व्यक्तिलाई अनुचित प्रभाव र परिबन्दमा पारेर शारीरिक सम्बन्ध बनाइएका विषय । पल शाहले त बिहे गर्छुसमेत भनेर प्रभावको जाल फ्याँकेको देखिन्छ । किशोरावस्था यस्तो संगीन र जटिल उमेर हो कि सिनेमाको नायक वा ख्यातनाम क्रिकेटरबाट मात्रै होइन, कसैबाट पनि ललाइफकाइ भएर आफू प्रभावमा परेको, आफ्नो निजत्वमाथि अतिक्रमण भएको पत्तो हुँदैन । कसको भरोसा गर्ने हो, कोसँग दूरी बनाउने हो भन्ने ज्ञान हुँदैन । आफूमाथि जे भइरहेको छ, त्यो सही वा गलत के हो भन्नेसम्म छुट्याउन सक्ने उमेर नभएकैले यस्तो उमेरको व्यक्तिलाई माइनर (नाबालिग) भनिएको हो र ‘माइनर’ हरू असाध्यै संवेदनशील स्थितिमा हुने भएकैले तिनको हकमा कानुनले समेत विशेष व्यवस्था गरेको हो ।
अहिले ‘सेलेब्रिटी’ का नाममा, ‘राष्ट्रका गहना’ का नाममा जसरी पीडकहरूलाई हाँस्दै, हात हल्लाउँदै फूलमाला भिरेर विजेताको भावमा सफाइ दिइएको छ, यसले बलात्कारको ‘संस्कृति’ लाई अझै उब्जाउ बनाउने र हिंसाको सामान्यीकरण भयावह स्तरमा बढ्ने निश्चित छ । यी मुद्दामा पल र सन्दीपलाई न्यायालयदेखि सार्वजनिक तहसम्म देखाइएको सहानुभूतिको मूल्य हरेक घर, परिवार र
समाजले आफ्ना छोरी–बहिनीहरूको आँसु र आर्तनादबाट चुकाउनुपर्नेछÙ यति हेक्का राखौं । कोमल चकलेटी अनुहारको ‘हिरो’ भएकैले, देशलाई मेडल थुपार्ने खेलाडी भएकैले कोही व्यक्तिले सिधै कसुरको भारबाट मुक्ति पाउन मिल्छ भने र यस्ता फैसलालाई सामान्य मानेर हामी भरे मज्जाले निदाउन तयार छौं भने यो मुलुकमा तपाईं–हामी कोही पनि एक थान योनि लिएर जन्मेकै कारण कुनै पनि क्षण बलात्कृत हुन र मारिन ‘डिजर्व’ गर्छौं । यस्तो मुलुकमा हामी हुनुको अस्तित्वलाई धिक्कार छ ! हाम्रो सामूहिक विवेकलाई धिक्कार छ ! अदालतभित्र नाबालिग छोरीहरू हार्दा ‘आहा, खुसीको खबर !’ भन्दै सेलिब्रेट गर्ने यो औडाहामय समयलाई धिक्कार छ !

 

Page 7
दृष्टिकोण

देखायौं वाद, गर्‍यौं बरबाद

- डा. विद्यानाथ कोइराला

 

वादी बन्यौं–बनायौं किन ?
फ्राइड भन्छन्— अचेतन अवस्थामै हामी वादी बन्छौं । आफ्ना कुराको प्रमाणका लागि । आफ्नो प्रतिरक्षाका लागि । जोन बोल्वी पनि फ्राइडको प्रमाणका लागि वादी बन्ने कुरा स्विकार्छन् । उनी थप्छन्— बजारीकरणका लागि पनि हामी वादी बन्छौं । उनी भन्छन्, कालान्तरमा त्यो ब्रान्ड नै आमा र सन्ततिको जस्तो बन्छ । त्यसो भए किन हामी वादी बन्छौं ? किन हाम्रा राजनीतिज्ञहरू वादी बन्छन् ? धरातलीय यथार्थले भन्छ— माओको देशमा आठवटा मात्र राजनीतिक दल छन् । तीबाहेकका दलहरू बन्देज गरिएका छन् । बन्देजमा परेका नौवटा दलहरूमध्ये दुईवटा मार्क्सवादी लेनिनवादी हुन् । एउटा माओवादी । बाँकी अरू दल छन् । चिनियाँ कम्युनिस्ट पार्टी नै सत्तामा छ । मार्क्सलाई स्विकार्छ । लेनिनलाई पनि मान्छ । माओको सालिक नै पुज्छ । तर तिनकै नाममा खोलिएका दलहरूलाई बन्देज गर्छ । किन ? अध्येताहरू भन्छन्— माओले आफूलाई मार्क्स तथा लेनिनवादी माने । माओ आफैंले बनाएका कतिपय नीति बेठीक भए । त्यसैले त्यो वाद बनेन । बन्दैन । फलतः चीनमा माओवादी दल छैनन् । बनाइँदैनन् । यस मानेमा चिनियाँ नेतृत्व भन्छ— चीनकै संस्कृतिको नाम चाहिन्छ । स्वाद चाहिन्छ । अहिलेको शब्दावलीमा चिनियाँ स्वादको लोकतन्त्र । सायद माओले त्यो काम गरेनन् । गराएनन् ।
माओवाद बनाउने श्रेय पेरूलाई जान्छ । त्यहाँका नेता गुजमानले माओको दर्शन, रणनीति र चाल (ट्याक्टिस) लाई स्विकारेर माओलाई वाद बनाए । त्यसैमा मार्क्स र लेनिनवाद पनि जोडे । नाम राखे— साइनिङ पाथ । आतंककारी कार्य गर्नका लागि । यसरी माओवाद आतंकमा मरिन पुग्यो । उनको विकासको चिन्तन त्यहाँ जोडिएन ।
भारतमा २०२१ को सेप्टेम्बरसम्म २,८५८ राजनीतिक दल थिए । संयोग नै भन्नुपर्छ, त्यहाँ पनि चीनमा जस्तै आठवटा दल मात्र राष्ट्रिय तहका छन् । ५४ प्रादेशिक । अरू स्थानीय । भारतसहित कोलम्बिया, टर्की तथा भुटानमा पनि माओवादी राजनीतिक दल छन् । अमेरिकामा भने मार्क्सवादी लेनिनवादी दलहरू छन् । तर माओवादी दलहरू छैनन् । मार्क्स तथा लेनिन जोडिएका दलहरू भने नेपाल, भेनेजुएला, बेलायत, भारत तथा क्यानडामा छन् ।
माथिको विश्लेषणले भन्छ— वाद बन्न दर्शन चाहिन्छ । रणनीति चाहिन्छ । चाल चाहिन्छ । ती सबै समयसापेक्ष हुनुपर्छ । सन्दर्भसापेक्ष हुनुपर्छ । यो स्थितिमा प्रश्न उब्जन्छ— के विदेशमा बने–बनाइएका सोचहरू हाम्रा लागि सदैव ठीक हुन्छन् त ? तिनका दर्शनहरू हाम्रा सन्दर्भमा मिल्छन् त ? रणनीतिहरू मिल्छन् त ? चालहरू स्वीकार्य हुन्छन् त ? आंशिक रूपमा ठीक भए भने तिनका वादी हौं भन्न मिल्छ त ? जस्तो पार्टीको दस्ता बनाउने लेनिन मार्क्सवादी हुन् भन्ने कि नभन्ने ? उनको पार्टी दस्ताले गरेको क्रान्तिलाई मार्क्सवादी क्रान्ति भन्न सकिन्छ कि सकिन्न त ? मार्क्सले संवादमा जोड दिए । लेनिनको दस्ताले संवादलाई रोक्यो । यस अर्थमा लेनिन नै मार्क्सवादी हुन् त ? हुन् भने किन उनकै पहलमा रुसमा लेनिनवाद बन्यो त ? बनाइयो त ? लेनिनको यो सिकोलाई माओले किन अपनाएनन् त ? किन उनले चीनमा माओवादी दल बनाएनन् त ? यसरी वादी बने–बनाइएका नेपाली राजनीतिक दलहरू प्रकारान्तरले अर्कै पो बन्यौं कि ? संशोधनवादी भएर पनि वादीकै नाम लिने गर्‍यौं कि ? पुच्छर झुन्डिएका साम्यवादी तथा गैरसाम्यवादी दलहरूले सोच्ने हो कि त ?
योगदानमा पो वादी बन्यौं कि ?
आफूलाई मार्क्स तथा लेनिनवादी भने पनि माओले चिनियाँ दर्शनलाई मियो बनाए । गन्तव्यको मियो । लेनिनले सबै खाले पेसाकर्मीहरूलाई जनपक्षीय बनाए । संवादमा स्वतन्त्रता तथा काममा एकताको चिन्तन जोडेर लोकतान्त्रिक केन्द्र्रीयता लागू गरे । अहिलेको शब्दावलीमा जनवादी केन्द्रीयता । मार्क्सले प्रतियोगी बजारलाई न्यूनतम ज्यालामा लाने उपाय दिए । यसरी हेर्दा हाम्रा पुच्छर झुन्डिएका दलहरूले आफ्नो माटाको दर्शन जोड्यौं त ? चीनका सी चिनफिङले कन्फुसियस जोडेजस्तो । अर्थात्, नेपालका वादी झुन्ड्याएका दलहरूले समाज बुझेने राजर्षि जनकको दर्शन जोड्यौं त ? याज्ञवल्क्यको दर्शन खोज्यौं त ? भौतिकता बुझ्ने गार्गीको दर्शन जान्यौं त ? अध्यात्म बुझ्ने गोरखनाथको दर्शन थाहा पायौं त ? अध्यात्म तथा भौतिक दुनियाँको अन्तरसम्बन्ध बुझ्ने कपिल मुनिको दर्शन जोड्यौं त ? आफ्नै हृदय बदल्ने बुद्धको दर्शन चिन्यौं त ? प्राज्ञ परिचालक वेदव्यासको दर्शन जान्यौं त ? त्यस्तै, मन्त्रद्रष्टा विश्वामित्रको दर्शन । सन्त रविदासको समताको दर्शन । शिवजीको बाघ, साँढे, साँप, मुसा, तथा गरुडसँगै राख्न सक्ने समावेशी दर्शन । कबीर दासको व्यावहारिक दर्शन । आफ्नै परिवेशमा सोच बनाउने डा. प्रपन्नाचार्य तथा योगी नरहरिनाथका दर्शन । यस्ता अनेकन् नेपाली छन् । वादी झुन्ड्याउने नेपालका राजनीतिक दलहरूले तिनका दर्शनहरूको खोजी गरेका छौं त ? ती दर्शनहरूलाई आधार बनाएका छौं त ? राजनीतिक दलहरूले त्यसो गरेका छौं त ? यसरी हेर्दा हामी विदेशीका दर्शनका भरिया मात्रै बनेनौं र ? बनाइएनौं र ? वादी बने–बनाइएका भरियाहरू राष्ट्रवादी हुन सक्छौं र ? यस अर्थमा हामी अरूका वादी भएछौं । जनतालाई प्रतिवादी बनाएछौं । केहीलाई दस्ता बनाएछौं । त्यसैमा रमाएछौं । यसो गर्दै जाने हो भने हामीले जनस्तरको योगदान कहिले बुझौंला ?

जनता प्रतिवादी पनि बनेनौं कि ?
नेता वादी भए पनि जनताले वादका असली अभ्यासको अपेक्षा गरेका थिए । माओले जस्तो स्वदेशका कन्फुसियसलाई मार्क्स र लेनिनमा जोडेको अभ्यास । स्वाध्यायलाई संस्कृति बनाउने अभ्यास । लेनिनले जस्तो गरिबको रक्षा गर्ने राज्यशक्तिको अभ्यास । आफ्ना दलका पेसाकर्मीलाई पेसाकै कुरा गर्ने, पेसाकै काम गर्ने, पेसामै अब्बल बन्ने अभ्यास । मार्क्सले जस्तो इतिहासबाट सिक्ने अभ्यास । श्रममा लाग्ने अभ्यास । लगाउने अभ्यास । तर वादी नेतृत्वले देशका चिन्तकलाई बेवास्ता गरे । संस्कृतिमाथि प्रहार गरे । पुर्खाले मानव प्रयोगशालामा बनाएका ज्ञान, सीप तथा प्रविधिको जगेर्ना, विकास, उद्यमीकरण, बजारीकरण गर्ने कुरामा ध्यानै दिएनन् । उनका पुस्तकलाई काल्पनिक तथा अवैज्ञानिक भनिदिए । श्रमको बदलामा दलाल पुँजीपतिको संरक्षण गरे । तिनकै रकममा रजगज गरे । यस अर्थमा नेताहरू वादी भए । जनताहरू प्रतिवादी भए ।
राज्य चलाउन पाएका न्यायाधीशहरू वादीकै कुरा मात्र सुन्न थाले । परिणामतः नेतामाथिको विश्वास यान्त्रिक भयो । पैसा तथा पदको मोहमा जम्मा हुने भीड बन्यो । यस अर्थमा पैसा दिने नेता पृथ्वीनाराण शाहका शब्दमा घूस दिन्या व्यक्ति भए । जनता पनि उनको शब्दमा घूस लिन्या व्यक्ति भए । उनको राज्यमा घूस लिन्या तथा दिन्या दुवैलाई कारबाही हुन्थ्यो । वादी नेताको राज्यमा जनता वस्तु भए । किनिने वस्तु । किनिएका वस्तु । कसलाई कति घूस दिए भनी सार्वजनिक नगर्ने नेताहरू सरकारमारा भए । निर्वाचन आयोगको सिलिङको खर्च बुझाएर करोडौं खर्चनेहरू इमानदार वादी नेता ठहरिए । आफू किनिएपछि जनता मौनी बने । वस्तुको मोल तिरेका नेताचाहिँ ठालु भए । यस अर्थमा वादी न प्रतिवादी । नेता न जनता । बरु किनिएका वस्तु बनेका जनताले प्रतिवादीको हैसियत पनि गुमायौं । नेताहरूले भित्री बेइमानी गरे पनि बाहिर नेताकै दर्जा पाइराखे । न्यायाधीशहरूले जनतालाई भन्ने भए— तिमीहरू किनुवा हौ । सार्वभौम जनता नबनेकाहरू । घूस खाने वा माग्ने जनता सार्वभौम मानिएनौं । जनता तथा नेताबीचका बिचौलियाहरू वादी नै मानियौं । अर्थात्, दलाल पुँजीपतिको दर्जा पनि पाएनौं । जनता मात्र किनुवा बन्यौं । घूस दिने नेता इमानदार मानिए । बिचौलिया पक्का वादी मानिए । यस्तो स्थितिका जनताचाहिँ प्रतिवादी भयौं त ?

अब त सुध्रने कि ?
माथिको संवादले भन्छ— वादी राजनीतिज्ञहरूले वादमाथि नै घात गर्‍यौं । मार्क्सको घात मार्क्सवादीले गर्‍यौं । लेनिनको घात लेनिनवादीले गर्‍यौं । माओको घात माओवादीले गर्‍यौं । बीपीको घात बीपीवादीले गर्‍यौं । मदन भण्डारीको घात मदनवादीले गर्‍यौं । अर्थात्, देखायौं वाद । गर्‍यौं बरबाद । अर्को शब्दमा, वादको आदर्शलाई कार्यान्वयन नै गरेनौं । यसले दिने संकेत हो— वादी राजनीतिज्ञले नै वादको गहिराइ बुझ्नुपर्छ । मैले कतै वादका चिन्तकमाथि नै अन्याय गरें कि त भनी प्रतिविम्बन गर्नुपर्छ । आत्मालोचना गर्नुपर्छ ।
प्रथमतः वादी राजनीतिज्ञ सम्बन्धित वादका कुनकुन कुरा लागू गर्ने भनी स्पष्ट हुनुपर्छ । वादविज्ञसँग सोधेर । आफैं पढेर । वादका चिन्तकका कुनकुन कुरा सान्दर्भिक छैनन् भन्ने हिम्मत पनि गर्नुपर्छ । मार्क्सको वर्गीयता पो काम लाग्दैन कि ? माओको सम्पत्ति राष्ट्रियकरण नै बेठीक हो कि ? लेनिनको दस्ता नै महँगो साबित हुन्छ कि ? बीपीको गुजारामुखी चिन्तन बेकामे हो कि ? मदन भण्डारीको साम्यवादमा लोकतन्त्र मिसाउने अभ्यास नै बेकामे हो कि ? यसरी निख्रिएर कुरा गर्ने चिन्तकसँग संवाद गर्नुपर्छ । नत्र बाँसको कलमले कागजमा लेख्ने हिजोको तरिकाको वकालत गरेझैं बन्छ । यस्तो सन्दर्भलाई अद्यावधिक गर्ने हो भने बाँसको कलम र मसीदानीमा थपिएका आविष्कारको कुरा गरे हुन्छ । कलमको ऐतिहासिक संग्रहालय बनाए हुन्छ । भविष्यमा कस्तो कलम बन्ला वा बनाउनुपर्ला भनी संवाद गराए हुन्छ । युवा तथा उद्यमीलाई त्यतातर्फ लगाए हुन्छ । भोलि बन्ने–बनाइने ती कलमले वातावरणमा के असर पार्छन् भन्ने कुरा गरे हुन्छ । गराए हुन्छ ।
अनुसन्धानका शब्दमा, यो विस्तार कार्यक्रम हो । वादको विस्तार । मार्क्सबाट मार्क्सवादी बन्ने तरिका । लेनिनबाट लेनिनवादी बन्ने तरिका । माओबाट माओवादी बन्ने उपाय । बीपीबाट बीपीवादी बन्ने तरिका । मदन भण्डारीबाट मदनवादी बन्ने तरिका । यसको अर्थ यो पनि हो कि, वाद बन्ने विचारहरू सन्दर्भमा बन्छन् । सन्दर्भ फरक हुनासाथ विचारले काम गर्दैन । वादले काम गर्दैन । यो कुरा वाद बोक्ने राजनीतिज्ञले जान्नुपर्छ । विदेशी वाद बोके पनि । स्वदेशी वाद बोके पनि । यसो नगर्नु भनेको धरातल नबुझ्नु हो । वादका स्रष्टामाथिको अन्याय पनि हो । जंगल वा मैदान जाने संस्कार भएको बस्तीमा कमोड नभए शौच आउँदैन भनेर गनगनाउनुजस्तै हो ।
महात्मा गान्धीका लँगौटी, गन्जी र गम्छा गर्मी भूभागमा काम लाग्लान् । जाडोमा उनको कपडा–आदर्श बेकामे हुन्छ । यस्ता कुरा पनि नबुझी वादको पछि लाग्नु भनेको भुइँफुट्टावादमा जाकिनु हो । यसबाट बच्न आफ्नो देशभित्रकै वादको खोजी गर्नुपर्छ । पश्चिमको वादमा मात्र आश्रित हुँदा पहिचान गुम्छ । माटाको आदर्श गुम्छ । अहिले हामी त्यही बाटामा छौं । पुँजीलाई सर्वस्व ठान्ने बाटामा । हाम्रो धरातलका वादले पुँजीलाई साधन माने । अहिले साध्य बन्न पुग्यो । साधन मान्दा बुद्धको चिन्तन जोडिन्थ्यो । द्वन्द्वात्मक कुरा गर्दा कपिल मुनि जोडिन्थे । ग्रामीण गरिबीको कुरा गर्दा बीपी जोडिन्थे । संविधानमा सम्पत्तिको अधिकार, वाक् स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताको कुरा गर्दा साम्यवादमा कसरी ती कुरा जोड्ने भनी संवाद हुन्थ्यो । यसो नगर्दा हामी टुप्पाबाट पलाएका राजनीतिज्ञ बन्यौं । अर्कोले जे भन्यो, त्यही मान्ने अभ्यासी । बीपीले बाटामा अलमल भए एक मुठी माटो उठाएर सोध भनेको कुरामा गहिरिन थाल्थ्यौं । यसरी सोच्ने विचारकको अहिले जरुरत छ । नेताहरूले यसबारे गहिरिनैपर्छ ।
वाद विदेशी बोक्ने । पहिचान आफ्नो खोज्ने । यो अहिलेको नेपाली अभ्यास हो । यो अभ्यासमा पनि राजनीतिज्ञले घोत्लिनुपर्छ । स्वदेशका ज्ञान तथा ज्ञानी बिर्सने । तिनका स्रष्टा बिर्सने । अनि ज्ञानभूमि शान्तिभूमि भनेर राष्ट्रिय गान घोक्ने । पुर्खाको धर्म बिर्सने । संस्कृति पनि बिर्सने । भाषा पनि बिर्सने । अनि पहिचानको कुरा गर्ने । यो अहिलेको अभ्यास सच्याउन वादी राजनीतिज्ञहरू लाग्नुपर्छ । सबै गुमेपछि अफ्रिका बनिन्छ । धर्म गुमाएको । संस्कार गुमाएको । मूल्य र मान्यता गुमाएको । अनि पहिचानका लागि अमिल्दा वादीसँग सम्झौता गर्न बाध्य भएको । त्यति बेला हाइब्रिडाइजेसन सिद्धान्त निकालेर पुनर्जीवन खोज्नुपर्ने हुन्छ । होमी भाभा जन्मनुपर्ने हुन्छ । राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरूले यो कुरा बुझेकै हुनुपर्छ ।
सन्दर्भ बुझ्नेहरूले सकभर आफ्नै माटाको विकास गरौं । सकिन्न भने हाइब्रिडाइजेसनको सहारा लिऔं । सुन्तला र ज्यामिरबाट जुनार बनाएजस्तो । सिर्फ वादी मात्रै बन्ने हो भने सन्दर्भ नै फेरौं । तर बुझौं, सन्दर्भ फेर्न सहज छैन । भूगोल फेरिँदैन । भाषा फेर्दा त्यसमा भएको ज्ञान–विज्ञान मर्छ । संस्कृति फेर्दा पहिचान हराउँछ । धर्म फेर्दा समाजसँगको सहसम्बन्ध बदलिन्छ । यो कुरा नबुझ्ने हो भने नेता न यता न उताको हुन्छौं । वादका विचारकका दृष्टिमा बेकामे । आफ्नो धरातलमा बेकामे । प्रश्न हो— वाद बोकेर बेकामे नै बन्ने कि ? भारतले गान्धीवाद बनाएजस्तो आफ्नै वाद बनाउने कि ? उपलब्ध रैथाने वादलाई समसामयिक बनाउने कि ? पश्चिमा वाद र रैथाने वादलाई वर्णसंकर गरेर नयाँ वाद बनाई लागू गर्ने कि ? समयले यी प्रश्नहरूको उत्तर खोजेको छ । वादी नेतृत्वले समयको चाल नबुझे प्रतिवादी जनता अगाडि आउँछन् । वादी नेतृत्व पछाडि पर्छ । निम्तिन सक्ने यो नियतिबारे बेलैमा होस गरौं । त्यसैमा वादी नेता तथा प्रतिवादी जनताको कल्याण छ ।

दृष्टिकोण

(अ)राजनीतिक प्रहसनमा डबलीका धूर्त मानिस

- युवराज भट्टराई

 

“बाथः प्याखँ” का तीन धूर्तहरू
गँदाजु, समादाजु र बाथःकिजा । क्रमशः काठमाडौं, भक्तपुर र पाटन (ललितपुर) का तीन बाठा मानिसहरू । लोकनाटकका यी तीन पात्र पाटनको कृष्ण मन्दिरक्षेत्रको डबलीमा देखाइने कात्तिक नाचका अभिन्न हिस्सा हुन् । नेपाल संवत् ७५४ मा सिद्धिनरसिंह मल्लले सुरु गरेको कात्तिक नाचका दौरान यिनका छलकपट र ठगठागका कैयौं किस्सा ‘बाथः प्याखँ’ को स्वरूपमा हरेक साँझ देखाइने प्रचलन थियो । आजकल पनि तिनका चार प्रस्तुति अस्तित्वमा छन् ।
पाटनको बाथः प्याखँको पहिलो प्रस्तुति ‘छँ धाल खः’ (तैंले भनेको ठीक हो) मा यी तीन छट्टुले एकअर्काले भनेको कुरा पत्याउनैपर्ने सर्त तेर्स्याउँछन् । नपत्याएको खण्डमा विमति राख्नेले उल्टै नोकर बन्नुपर्ने हुन्छ । कान्तिपुरे गँदाजुले माकुराको जालले बुनेको बाटामा हात्तीघोडा दौडाएको गफ दिन्छ, बाँकी दुवैले पत्याइदिन्छन् । समादाजुले एउटा रायोको सागको पात बढेर भक्तपुर ढाकेको गफ दिन्छ, बाँकी दुवैले पत्याइदिन्छन् । नपत्याए नोकर बनिहालिन्छ । अन्ततः बाथःकिजाले आफू दुई नोकर लिएर आसामी उठाउन जाँदा नोकरहरू हराएको र आज भेट्टाएको भन्दै गँदाजु र समादाजुलाई नोकर बनाएर लैजान्छ । आखिर सर्त मुताबिक बाथःकिजाको कुरा नपत्याउने हो भने पनि गँदाजु र समादाजुले नोकर बन्नैपर्ने थियो ।
अर्को प्रहसनमा यी तीनमध्ये ‘को जेठो’ भन्ने होड चल्छ । छाती पिटीपिटी आफ्नो नाति मरेको ढोङ गर्दै त्यही नाटकीय अभिनयको सहारा लिएर बाथःकिजाले श्रीकृष्णको कचहरीबाट आफू जेठो भएको फैसला गराउँछ । सबैभन्दा मूर्ख को बन्ने भन्ने प्रतिस्पर्धा गर्न पनि यी छट्टुहरू पछि पर्दैनन् । यी तीन पात्रले अरूलाई पनि ठग्छन् । १२ दामको बाख्रो ६ दाममा किन्छन्, बाख्रा बेच्ने महिला ठगिएको थाहा पाएर डबलीमा पुग्दा यी ठगहरू पहिल्यै सुइँकुच्चा ठोकिसकेका हुन्छन् ।
श्रुति परम्पराबाट जन्मिएका हास्यरसप्रधान यस्ता लोकनाटक र प्रहसनमा ठगहरूको भूमिका विशिष्ट छ । ‘चोरमाथि चण्डाल’ भन्ने विषयमा बनेका हास्य–प्रहसन विश्वभर नै लोकप्रिय छन् ।
दुःखको कुरा, यस्ता पात्रहरूको भूमिका अब पाटनको डबलीमा मात्रै सीमित छैन । सत्ताप्राप्तिका लागि संसद्भित्र र बाहिर मुख्य राजनीतिक पात्रहरूले देखाइरहेको (अ)राजनीतिक प्रहसनले कात्तिक नाचका दौरान पाटनका डबलीमा देखाइने तीन छट्टुको प्रहसनलाई नै माथ खुवाइदिइसकेको छ । टीठलाग्दो त के छ भने, अझै यस्तै पात्रहरू राजनीतिक वृत्तमा जिउँदो–जाग्दो भएर उदाउँदै छन् ।

हाम्रा नेतात्रय
गँदाजु, समादाजु र बाथःकिजाले क्रमशः काठमाडौं, भक्तपुर र पाटनका धूर्त मानिसहरूको प्रतिनिधित्व गर्छन् । ठ्याक्कै यस्तै बसोबास छ हाम्रो नेतात्रयको । हाम्रा गँदाजु (शेरबहादुर देउवा) बस्छन् धुम्बाराही, काठमाडौंमाÙ समादाजु (केपी ओली) बालकोट, भक्तपुरमा र बाथःकिजा (पुष्पकमल दहाल) खुमलटार, ललितपुर) मा । हाम्रा गँदाजु, समादाजु र बाथःकिजाको प्रहसनस्थल भने नयाँ बानेश्वरस्थित संघीय संसद्भवन हो ।
आ–आफ्ना स्वार्थअनुकूल हाम्रा नेतात्रय पनि एकअर्काका निवासतिर ओहोरदोहोर गरिरहन्छन् । छलछामको धन्दामा कहिले कसले कसलाई कसरी काखी च्याप्छन् अथवा कोखमा छुरा रोप्छन्, स्वयं यी तीन उस्तादहरूले समेत अनुमान लगाउन सक्दैनन् ।
सबैभन्दा चतुर वा धूर्त कहलिएर बाँकी दुईलाई पंगु बनाउँदै प्रधानमन्त्रीको कुर्सीमा कसरी आफू पुग्ने अनि अधिकतम समय कसरी त्यहाँ टिक्ने भन्ने नै यी तीन पात्रको एक मात्र ध्याउन्ने हुने गर्छ । वर्तमान नेपाली राजनीतिको मियोका रूपमा लिइने यिनीहरू मुलुकको सुदूरपूर्व, मध्य तथा सुदूरपश्चिमबाट निर्वाचित भएर आएका हुन् । अनि सिंगो मुलुक यिनका लागि खेलोफड्को र तिकडमबाजी गर्ने थलो हो भने राजनीति फगत एक तमासा ।
आफ्नो प्रहसन उनीहरू यति सपाट ढंगले गर्छन्, बुझ्नलाई कष्ट गरिरहनै पर्दैन । एक छिनलाई २०७४ को प्रादेशिक तथा संघीय निर्वाचनतिर फर्कौं । समादाजु (ओली) र बाथःकिजा (प्रचण्ड) पार्टी एकीकरण गर्दै चुनावी मैदानमा पसे । चुनाव आफैंमा हाम्रा नेताका लागि छलकपट र तिकडमबाजीको अर्को सुअवसर हो भने आम नागरिकका लागि एक रमिता । तर, त्यो आम निर्वाचन फगत रमिता बनेन, महोत्सवमा बदलियो ।
एकातिर, दुई भयानक बाठा मानिसहरूले एकता गरेका थिएÙ त्यसैले अस्थिर सरकारका कारण आजित बनेका नागरिकहरूले स्थिरताको आशा राखे । अर्कातिर, ‘समृद्ध नेपाल सुखी नेपाली’ को चास्नी नै देखाइदिइसकेपछि तिनमाथि विश्वास नगर्ने कुरै भएन । फलतः दुईतिहाइनिकट सरकारसहित समादाजु (ओली) प्रधानमन्त्री बन्न पुगे ।
उनले प्रधानमन्त्रीको कुर्सीबाट शृंखलाबद्ध रमिता मात्र देखाइरहे । कोभिड महामारीबीच सिंगो मुलुक समादाजुका तमासा टुलुटुलु हेर्न बाध्य भयो । जे होस्, सबैलाई थाहा थियो उनका यी गतिविधि अढाई–तीन वर्षका लागि मात्रै हुन् भनेर । त्यसपछि त चुनावी एकताको सर्त अनुसार, बाथःकिजा (प्रचण्ड) दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नेवाला थिए ।
तर, समादाजुले प्रधानमन्त्रीको कुर्सी बाथःकिजालाई सुम्पन मानेनन् । परिणामस्वरूप, झन्डै दुईतिहाइवाला समादाजु अल्पमतमा परे, पार्टी टुक्रियो, रिसको झोंकमा समादाजुले संसदीय डबली नै भत्काउने कुचेष्टा गरे । मुलुकमा संवैधानिक संकट देखा पर्‍यो । बाथःकिजा (प्रचण्ड) अब गँदाजु (देउवा) र अन्यसँग मिल्न पुगे । अदालतले संसद् पुनःस्थापना गरिदिएपछि बाथःकिजाको साथ र सहयोगमा बालुवाटार डबलीमा पनि गँदाजुको प्रवेश भयो ।
सत्तामा गँदाजु र बाथःकिजा लगायतको गठबन्धन थियो । पछिल्लो आम निर्वाचन–२०७९ मा समेत यो गठबन्धन कायमै रह्यो । यो चुनावी गठबन्धनको आधार र एजेन्डा के थियो ? चित्तबुझ्दो जवाफ कतैबाट आएन । दुई–दुई पटक संसदीय डबली भत्काउने समादाजुलाई रोक्नकै लागि यो गठबन्धन बनेको थियो सायद ।
गँदाजु र बाथःकिजाको चुनावी तालमेलमा पहिलो आधा कार्यकाल बाथःकिजालाई प्रधानमन्त्री दिने सर्त थियो । सहमतिमा प्रधानमन्त्रीको प्रस्ताव लाने समयसीमा पुस १० सम्म तोकिएको थियो । गँदाजुले ओगटेको बालुवाटारमा गँदाजु र बाथःकिजाबीच प्रधानमन्त्रीका लागि रस्साकस्सी थियो । दुवैबीचको सहमति अनुसार, बाथःकिजा पहिलो आधा कार्यकालको हकदार थिए ।
तर, राजनीतिक प्रहसन उत्कर्षमा पुग्न बाँकी नै थियो । एकातिर, आसेपासेले गँदाजुलाई प्रधानमन्त्री छोड्नै नहुने दबाब दिइरहे, उता भक्तपुर (बालकोट) बाट समादाजुले फोनमै भावी प्रधानमन्त्री तपाईं नै हो र आफूले कुनै हालतमा बाथःकिजालाई समर्थन नगर्ने भन्दै अल्झाइरहे । बाथःकिजा जसरी पनि आफूतिरै फर्केर आइहाल्ने भ्रममा बालुवाटारमा गँदाजुले कुरिरहे । उता बालकोटमै बोलाएर समादाजुले बाथःकिजालाई प्रधानमन्त्री बनाइदिए । अहिले फेरि बाथःकिजाले समादाजुलाई जिल खुवाए ।
यी राजनीतिक घटनाक्रमहरू स्वयम् डबलीको प्रहसनभन्दा पनि बेजोड छन् । समादाजुले पहिल्यै पाँचौं शक्ति राप्रपा समाइहालेका थिए । त्यत्तिले मात्रै पनि भक्तपुरे समादाजु र ललितपुरे बाथःकिजाको पल्ला भारी हुने थिएन । त्यसका लागि बडो नाटकीय ढंगमा राजनीतिक डबलीमा आइपुगे अर्का पात्र— रवि दाजु । उनकै समर्थनमा अन्ततः बाथःकिजा प्रधानमन्त्रीका लागि सबैभन्दा योग्य पात्र दरिए ।
गँदाजु, समादाजु र बाथःकिजाले ओगटिरहेको यो राजनीतिक प्रहसनमा यी तीनमध्ये को ठूलो भन्ने निर्णय दिन अर्को चौथो पात्र चाहिएको थियो । जस्तो— पाटनको डबलीमा थिए भगवान् श्रीकृष्ण । अब यहाँ श्रीकृष्णको भूमिकामा रवि नै आइसकेपछि भने नेपाली राजनीतिको तमासा पनि चरमोत्कर्षमा पुग्यो ।
विश्वासको मत लिने क्रममा संसदीय डबलीमा पाटनको प्रहसनको ‘छँ धाल खः’ (तैंले भनेको ठीक हो) भन्ने प्रस्तुति पनि हुबहु भनेजसरी नै प्रदर्शन गरियो । सत्तामा सक्रिय सहभागिता अनि प्रादेशिक सरकार गठनका लागि समादाजुले बाथःकिजालाई विश्वासको मत दिए । नयाँ पात्र रविलाई पनि सत्ताको चास्नी चाख्नु थियो । त्यसैले उनीसहित सत्ता–समीकरणमा भाग लिने अन्यले पनि विश्वासको मत दिनु स्वाभाविक थियो । तर, सबैलाई आश्चर्यचकित तुल्याउँदै प्रतिपक्षका गँदाजुले समेत बाथःकिजालाई विश्वासको मत दिन पुगे, बाथःकिजालाई स्विकार्न पुगे ।
लोक नाटकमा जसरी ललितपुरे बाथःकिजाको कुरालाई ‘तैंले भनेको त ठीकै हो’ भनेर समर्थन गर्दा पनि गँदाजु र समादाजुले बाथःकिजाकै दास बन्ने स्थिति आउँछ, त्यसरी नै सबैका आ–आफ्ना राजनीतिक स्वार्थका कारण मन नलागे पनि बाथःकिजालाई प्रधानमन्त्रीमा विश्वासको मत दिन सबै बाध्य भए । अहिलेका लागि दुवै गँदाजु र समादाजु राष्ट्रपतिमा च्याँखे दाउ लगाइरहेका छन् । त्यसैले पनि सत्ता–प्रहसनको उत्कर्ष आगामी राष्ट्रपति निर्वाचनमा देखिने पक्कापक्की छ ।
गँदाजु, समादाजु र बाथःकिजालाई पनि माथ खुवाउने अराजनीतिक प्रहसनको खास विद्रूप दृश्य नयाँ राजनीतिक पात्र ‘रवि दाजु’ ले देखाइसकेका छन् । हाम्रा बाठा नेतात्रय रातारात राजनीतिक वृत्तमा उदाएका होइनन् । उनीहरू राजनीतिक रूपान्तरण र व्यवस्था परिवर्तनका ठूला संवाहक हुन् । उनीहरूकै योगदानका कारण मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामा छ । उनीहरूले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकै कारण उनीहरूका कमजोरीमाथि खुलेर लेख्न, बोल्न र निर्धक्क प्रश्न गर्न सकिरहेका छौं ।
समस्या तिनको राजनीतिको मियो बनिरहने अभिलाषाले सिर्जेको थियो/छ । ‘पद्धति प्रमुख हो र व्यक्ति गौण’ भन्ने लोकतन्त्रको आधारभूत मान्यतालाई जुन दिन हामी स्थापित गर्न सक्छौं, त्यही विन्दुदेखि हाम्रा परम्परागत बाठा मानिसहरू राजनीतिबाट विस्थापित हुने क्रम सुरु हुनेछ र सँगै तिनीहरूको प्रहसन पनि ।
‘नो नट अगेन’ भन्दै निर्वाचनमा नयाँ शक्ति र व्यक्तिहरू उदाउनुको खास औचित्य पनि हाम्रा बाथः प्याखँको प्रहसनलाई राजनीतिबाट विस्थापन गर्नु नै थियो । तर, नयाँ दलका नयाँ पात्रले आफू दूधले नुहाएको दाबी गर्दागर्दै पनि समादाजु र बाथःकिजासँग कुम मिलाउँदै परम्परागत सत्ता–प्रहसनमा भाग लिन पुगे । अब उनी पनि सत्ता–समीकरणका अर्का धूर्त खेलाडी बनिसकेका थिए । जसै आफू उपप्रधान तथा गृहमन्त्रीबाट केही समयका लागि बाहिरिनुपर्‍यो, उनी असली स्वरूपमा प्रकट भए । उनमा धीरता, बुद्धि, विवेक, शालीनता र चेतनाजस्ता कुनै पनि नेतामा हुनुपर्ने कुनै गुण नभएको आफैंले पुष्टि गरिदिए । उनको उपस्थितिले राजनीतिक वृत्तका स्थापित बाठा नेताहरूलाई सुध्रन दबाब मिल्ला भन्ने झिनो आशामाथि नै तुषारपात भयो । राजनीतिलाई प्रहसनका रूपमा लिइरहने हाम्रा परम्परागत ‘कलाकार’ हरूको विकल्पमा उदाएका नयाँ पात्र हेर्दाहेर्दै मारुनी नाचको ढँटुवारेमा रूपान्तरित भए ।
र, यसो हुनु स्वाभाविक थियो । जुन दिनसम्म ‘लोकतन्त्र एउटा प्रणाली हो, व्यक्तिविशेष मसिहा होइन’ भन्ने हामी बुझ्दैनौं, त्यस दिनसम्म यस्तै
धूर्त व्यक्तिहरूले मुलुकमा डबलीको (अ)राजनीतिक ‘बाथः प्याखँ’ प्रहसन गरिरहनेछन्, र तिनको विकल्पमा हामीले झन् सस्ता तमासा देखाउने रंगीबिरंगी ढँटुवारेहरू भेट्टाइरहनेछौं ।

 

Page 8
वाग्मती प्रदेश

विद्यार्थीलाई झोला

- कान्तिपुर संवाददाता


दोलखा (कास)– ‘विद्यार्थीसँग मित्रता कार्यक्रम’ अन्तर्गत जिल्लाका पाँच सामुदायिक विद्यालयका विद्यार्थीलाई
झोला उपहार वितरण गरिएको छ । एसएस फाउन्डेसनले ५ सय ९८ विद्यार्थीलाई झोला उपहार दिएको हो । फाउन्डेसन दोलखाको भीमेश्वर बहिरा र सूर्योदय, जनज्योति र चण्डिका आधारभूत र वीरेन्द्र माविका विद्यार्थीसँग मित्रता गाँसेर झोला उपहार दिएको हो । अध्ययनमा सहज तुल्याउन फाउन्डेसनले जिल्लाभर विद्यालयमा आवश्यकताअनुसार अध्ययन सामग्री उपहार दिने बताएको छ ।

वाग्मती प्रदेश

सहजकर्ताले रोके बालविवाह

- कान्तिपुर संवाददाता

हेटौंडा (कास)– बालमैत्री शासन कार्यान्वयनको चरणमा रहेको हेटौंडा उपमहानगरपालिकामा दुई वडामा बालविवाह रोकिएको छ । बालमैत्री नगर घोषणाका लागि उपमहानगरले नियुक्त गरेको वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सक्रियतामा हेटौंडा उपमहानगरको १४ र १७ नम्बर वडामा बालविवाह रोकिएको हो । दुवै वडामा फागुन १० गते हुन लागेको बालविवाह रोकिएको छ ।
गाउँमा १८ वर्षभन्दा मुनिका बालबालिकाको विवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्न नमिल्ने भनी जानकारी गराउँदै बालविवाह रोकिएको उपमहानगरका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिइन् । महाशाखाले सचेतनाका कार्यक्रम सञ्चालन गर्दैगर्दार् बालविवाह हुँदै गरेको जानकारी पाएपछि वडा सहजकर्ता र वडा कार्यालयले तोकेको सम्पर्क व्यक्तिलाई परिचालन गरेर विवाह रोक्ने कार्य भएको हो । यसअघि उपमहानगरपालिका वडा कार्यालय र जनप्रतिनिधिहरूको सक्रियतामा बालविवाह रोकिएको थियो । बालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा विभिन्न होटल तथा व्यावसायिक क्षेत्रमा प्रयोग भएका ७ जना बालबालिकालाई पुनःस्थापनाको काम गरेको महशाखाले जनाएको छ । बाहिर जिल्लाबाट आएर हेटौंडाका विभिन्न होटल तथा अन्य क्षेत्रमा काम गर्ने बालबालिका रहेको बताइएको छ ।
हेटौंडा उपमहानगरले १ नगर र १९ वडा सहजकर्ता तथा ३० तथ्यांक संकलक गरी ५० जनालाई नियुक्ति दिएको छ । उपमहानगरले २०८० मंसिरसम्म पालिकालाई बालमैत्री घोषणा गर्ने तयारी थालेको छ । यसअघि मकवानपुरका १० पालिकामध्ये मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री पालिका घोषणा भइसकेका छन् । बालमैत्री पालिका घोषणाका लागि वडा तथा तथ्यांक संकलकले ५१ वटा सूचकमा आधारित भएर काम गर्ने बताइएको छ ।

वाग्मती प्रदेश

चिनियाँ भाषा निरन्तर

- कान्तिपुर संवाददाता

भक्तपुर (कास)– भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले नगरपालिकाले अध्यापन गराउँदै आएको चिनियाँ भाषा कक्षालाई निरन्तरता दिने बताएका छन् । सोमबार नगरप्रमुख प्रजापति र त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न भक्तपुरमा चिनियाँ भाषाको कक्षा सञ्चालनलाई निरन्तरता दिने विषयमा छलफल भएको हो ।
नगरपालिकाले चिनियाँ पर्यटक र चिनियाँ जनतासँग आपसी सम्बन्ध कायम गर्न नगरवासीहरूलाई चिनियाँ भाषाको प्रशिक्षण सञ्चालन गर्दै आएको छ । नगरप्रमुख प्रजापतिले त्यसलाई निरन्तरता दिने बताएका छन् । चीन सरकारले कोभिडमा नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकालाई आवश्यक स्वास्थ्य उपकरण सहयोग गरेको थियो । उनले चिनियाँ भाषाको प्रशिक्षण सञ्चालनबारे कन्फ्युसियस इन्स्टिच्युटसँग सहकार्य गरी अगाडि बढ्ने बताए ।

Page 9
अर्थ वाणिज्य

सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

- यज्ञ बञ्जाडे

(काठमाडौं)
गएको डेढ वर्षमा सेयरधनीको सम्पत्तिको मूल्य करिब साढे १५ खर्ब रुपैयाँले घटेको छ । ०७८ भदौदेखि गत सोमबार (फागुन १५) सम्ममा दोस्रो बजारमा सूचीकृत सेयरको मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो ।
करिब अठार महिनाको अवधिमा सेयर बजारको आकार अथवा कुल बजार पुँजीकरण (स्टक एक्सचेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य) करिब १५ खर्ब ४६ अर्ब रुपैयाँले घटेको छ । यसको अर्थ सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको भन्ने हो । ०७८ भदौ २ मा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ कायम थियो । सोमबारसम्म आइपुग्दा यो २९ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ । सोमबारसम्मको कुल बजार पुँजीकरण हालसम्मको सबैभन्दा धेरै अवस्थाको तुलनामा करिब साढे १५ खर्ब रुपैयाँले कम हो । ०७८ भदौ २ मा कुल बजार पुँजीकरण हालसम्मको सबैभन्दा धेरै ४४ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको थियो ।
गत वर्षको भदौ २ मै नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु (३ हजार १ सय ९९ बिन्दु) मा थियो । नेप्सेको अघिल्लो उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यतिबेला नेप्से परिसूचक १ हजार ८ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर गत भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । त्यसयता फेरि बजार ओरालो लाग्न थाल्यो । यही कारण उच्च बिन्दुको तुलनामा अहिले नेप्से करिब ६३ प्रतिशत र कुल बजार पुँजीकरण करिब ६५ प्रतिशतले घटिसकेको छ ।
सरकार र नियामक निकायद्वारा हचुवाका भरमा नीति परिवर्तन गर्ने प्रचलन नै सेयर बजारमा उच्च गिरावटको प्रमुख कारण भएको उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिका पौडेलले बताए । ‘राष्ट्र बैंकले कुनै समयमा सेयर कर्जामा ४/१२ करोडको सीमा तोक्यो । यसले बजारलाई नराम्ररी प्रभावित बनायो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त सीमा परिमार्जन गरेर १२ करोड मात्र बनाइयो । धितोपत्र बोर्डले पनि विभिन्न नीतिगत परिवर्तन गर्‍यो भने ५१ वटा कम्पनीको वित्तीय सूची नै प्रकाशित गर्‍यो,’ उनले भने, ‘नीतिमा एकरूप नहुनु (नीतिगत अस्थिरता) नै सेयर बजार धेरै अंकले घट्नुको प्रमुख कारण देखिन्छ ।’
यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चिति निरन्तर रूपमा घट्न थालेपछि ‘अब अर्थतन्त्र संकटमा जान्छ, श्रीलंका बन्छ’ लगायत हल्ला चले । यी हल्ला र राजनीतिक अस्थिरताले लगानीकर्ताको मनोबल घटाएकाले बजार प्रभावित भएको पौडेलको तर्क छ । ‘अब मुलुक श्रीलंका बन्छ, नेपालसँग औषधि किन्न सक्ने पैसा पनि हुँदैन, अर्थतन्त्र संकटको संघारमा छ जस्ता प्रचार धेरै गरियो,’ उनले थपे, ‘ती प्रचार सेयर बजारका लागि नकारात्मक टिप्पणी थिए ।’ यसअघिको उच्च बिन्दु १ हजार ८ सय ८१ बाट बढेर नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुग्दा करिब १ हजार ३ सय अंक बढिसकेको थियो । यसकारण बजारमा करेक्सन आवश्यक थियो । तर नीतिगत अस्थिरता र नियामक निकायका कदमले ‘करेक्सन’ आवश्यक क्षेत्रमा नभएर अरू नै क्षेत्रमा हुँदा बजारमा असर पार्‍यो । ‘पछिल्लो १० महिनामा मात्र नेप्से परिसूचक करिब ४४ प्रतिशत घटिसकेको छ । उक्त अवधिमा सेयर कर्जा पनि १ खर्ब ६ अर्ब रुपैयाँबाट घटेर ७८ अर्बमा झरिसकेको छ’ उनले भने, ‘लगानीकर्ताको मनोबल बढाउन सरकार र नियामक निकायले नीतिगत पहल गर्न सक्छ ।’
नेप्सेमा सूचीकृत कुल सेयरलाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ, जसलाई सेयर बजारको आकार भनिन्छ । सेयर मूल्य बढेको अवस्थामा कुल बजार पुँजीकरण पनि बढ्छ । घटेको अवस्थामा पुँजीकरण पनि घट्छ । हाल सेयर बजार घट्दो क्रममा रहेकाले कुल बजार पुँजीकरण पनि निरन्तर रूपमा घटिरहेको देखिन्छ ।
यो वर्ष स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सेयर बजार पनि बढ्ने अपेक्षा गरिएको थियो । निर्वाचनपछि थप पाँच वर्षका लागि स्थायी सरकार अपेक्षा गरिए पनि त्यो हुन सकेन । अहिले पनि राजनीतिक उथलपुथल कायमै छ । मुलुकमा आर्थिक गतिविधि सुस्ताएको छ भने पुँजीगत खर्च बढ्न सकेको छैन । राजस्व संकलन घटेको छ । केही वर्षदेखिको तरलता अभावको समस्या समाधान भएको भनिए पनि बैंकमा कर्जा माग बढ्न सकेको छैन । ब्याजदर अकासिएको छ । सरकारले मुलुकको आर्थिक समृद्धिलाई प्राथमिकता दिइएको भनिए पनि व्यवहारमा त्यो देखिएको छैन । यही कारण सेयर बजारमा अपेक्षाकृत तरंग आउन नसकेको जानकारहरू बताउँछन् । बजारले निरन्तर अपेक्षाविपरीत वियरिस (घट्दो) प्रवृत्ति देखाउन थालेको छ । सोमबारसम्म नेप्से परिसूचक २ हजार २३ बिन्दुमा बन्द भएको छ । यो हालसम्मको उच्च बिन्दु ३ हजार १ सय ९९ अंकको तुलनामा १ हजार १ सय ७६ अंकले कम हो ।
यतिबेला बैंक ब्याजदर उच्च छ । ब्याजदर वृद्धिको पहिलो र प्रत्यक्ष असर सेयर बजारमा पर्छ । सामान्यतया ब्याजदर वृद्धि र सेयर बजारबीच उल्टो सम्बन्ध रहन्छ । यसको अर्थ बैंक ब्याजदर बढ्दा नेप्से घट्छ र घट्दा बजार बढ्छ भन्ने हो । जोखिमका हिसाबले सेयर बजारको तुलनामा बैंक निक्षेप सुरक्षित मानिन्छ । यसकारण ब्याजदर बढेको अवस्थामा पैसा बैंकमा राख्दा जोखिमबिना राम्रो प्रतिफल पाइने भएकाले सेयर बजारमा नकारात्मक प्रभाव पर्ने गरेको हो ।
बजार घट्दा सेयर धितोमा कर्जा लिएका लगानीकर्तालाई बैंकहरूले मार्जिन बुझाउन बोलाउने गरेको लगानीकर्ताहरू बताउँछन् । ‘बजार लगातार रूपमा घट्न थालेपछि बैंकहरूबाट आउने मार्जिन कल बढ्न थालेको छ । यसले बजारमा बिक्री चाप (पेनिक सेल) बढाएको छ,’ नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘लगानीकर्ता बाध्य भएर नोक्सान व्यहोरेरै भए पनि सेयर बिक्री गरिरहेका छन् ।’ दुई वर्षअघि ६/७ प्रतिशत ब्याजदरमा लिएको सेयर कर्जाको ब्याज अहिले १६/१७ प्रतिशत पुगेको उनले बताइन् । ‘एकातिर बजार बढ्न सकेको छ्रैन । अर्कोतिर उच्च ब्याजदरले लगानीकर्ताको कर्जा भुक्तानी क्षमतामा ह्रास ल्याएको छ,’ उनले भनिन् । यस्तो अवस्थामा सरकार र नियामक निकायको प्राथमिकतामा सेयर बजार नपर्दा लगानीकर्ता चिन्तित भएको उनले बताइन् ।

अर्थ वाणिज्य

त्रिशूली आयोजनामा अतिक्रमण बढेपछि ‘ल्यान्ड मार्किङ’

- गोविन्द पोखरेल,कृष्ण थापा

 (त्रिशूली, नुवाकोट)
त्रिशूली जलविद्युत् आयोजनाको जग्गा अतिक्रमण हुन थालेपछि चारकिल्ला छुट्याउन सुरु गरिएको छ । आयोजनाले करिब ५० प्रतिशत जग्गा अतिक्रमण भएको जनाउँदै आफ्नो क्षेत्र घेराबेराको काम थालेको हो ।
आयोजना निर्माण गर्दा सरकारले करिब ३५ सय रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको थियो । बाँध बनाउने क्रममा तत्कालीन समयमा अधिग्रहण गरिएको जमिनबाट माटो निकालिएको त्रिशूली जलविद्युत् आयोजना वितरण केन्द्र प्रमुख बाबुराजा महर्जनले बताए । उनका अनुसार तत्कालीन सरकारले जग्गा अधिग्रहण गरेर माटो सम्याउनका लागि थप जग्गा अधिग्रहण गरिएको थियो । तर, जग्गा उपयोग नभएपछि स्थानीयले त्यहाँ अतिक्रमण थालेका थिए ।
जलविद्युत् आयोजनाको निर्माणका लागि नेपाल र भारत सरकारबीच समझदारी भएको थियो । विद्युत् प्राधिकरणका अनुसार सन् १९६७ मा आयोजना भारतको १४ करोड भारु लगानीमा निर्माण भएको थियो । सुरुवातमा २१ मेगावाट जडित क्षमताको भए पनि सन् १९९५ मा स्तरोन्नति गर्दै आयोजनाको जडित क्षमता २४ मेगावाटको बनाइएको थियो । हाल त्रिशूली जलविद्युत् आयोजनाका अतिक्रमित जमिन बिदुर नगरपालिकाको १, ७ र ९ नम्बर वडामा पर्छन् । ती क्षेत्रमा रहेका ५० प्रतिशत जग्गा अतिक्रमण भएको हो । ‘करिब ३ सय वटा घरटहराहरू आयोजनाको जग्गामा निर्माण भएका छन्,’ महर्जनले भने ।
भूकम्प अगाडि सामान्य किसिमका संरचना थिए । भूकम्पपछि पुनर्निर्माण प्राधिकरणले घर बनाउन पीडितहरूलाई अनुदान दिएको थियो । त्यसपछि आयोजनाको जग्गाभित्रै ती कंक्रिटका संरचनाहरू निर्माण भएका छन् । घरटहराको संख्या लगातार बढेपछि आयोजनाले आफ्नो चारकिल्ला प्रस्ट राख्न सकेको छैन ।
जग्गा अतिक्रमण थप बढ्न सक्ने भएकाले ‘ल्यान्ड मार्किङ’को काम सुरु गरिएको महर्जनले जानकारी दिए । हाल प्राधिकरणको लोगो अंकित पहेलो रंगका ७ सयवटा पिल्लर गाडेर जग्गा छुट्याउने काम सुरु गरिएको उनले बताए । यो कामका लागि प्राधिकरणले पछिल्ला ५ वर्षमा डेढ करोड रुपैयाँ खर्च गरेको छ । ‘आयोजना निर्माणका लागि खरिद गरिएको जग्गाबाट माटो निकालेर बाँध बनाउन प्रयोग भएको थियो,’ महर्जनले भने, ‘त्यो जग्गा बिस्तारै अतिक्रमणमा परेको देखिन्छ । पहिल्यै डिमार्केसन गरेको थियो भने यो अवस्था हुँदैनथ्यो ।’ साँधसिमाना छुट्याउन चिनो लगाइएका क्षेत्रमा वृक्षरोपण गरिएको छ । ५ सयभन्दा बढी बिरुवा रोपिएको महर्जनले बताए ।
यसैगरी बालुवा र लेदोको मात्रा धेरै भएपछि आयोजनाको जलाशय सफा गर्न थालिएको छ । आयोजनाका कर्मचारी हरिप्रसाद प्याकुरेलका अनुसार २०४९ सालपछि जलाशय सफा गरिएको थिएन । उच्च माग भएको समयमा उत्पादन गर्ने र सुक्खा समयमा पानी जम्मा गरेर विद्युत् उत्पादन गर्ने परियोजना भएकाले त्रिशूलीमा ४ सय रोपनीमा १ लाख ३० हजार स्क्वायर मिटर क्षेत्रफलको जलाशय निर्माण गरिएको थियो ।
जलाशयमा बालुवा भरिँदा पिक समयमा उत्पादन क्षमता कम हुने गरेको छ । ‘त्रिशूली नदी प्रवाहमा आधरित परियोजना हो, त्यसैले जलाशयमा बालुवा भरिनु स्वाभाविक हो,’ महर्जनले ‘पानी जम्मा गर्नका लागि हामीले पोखरी बनाएका थियौं । ३० वर्षसम्म धेरै नै बालुवा भरिएकाले पानी भण्डारण क्षमता अनुसार हुन सकिरहेको थिएन ।’

आयोजनाले जलाशयमा बालुवा निकाल्नका लागि ड्रेजर मेसिनको पनि प्रयोग गर्दै आएको थियो । तर उक्त मेसिनले हरेक १५ मिनेटमा साढे ५ फिट गहिराइ र ३० मिटरको चौडाइ क्षेत्रफलको मात्रै बालुवा निकाल्ने भएकाले जलाशयमा बालुवा र माटो थुप्रिँदै गएको थियो । जलाशयमा २ लाख घनमिटर बालुवा जम्मा भएको विद्युत् प्राधिकरणले जनाएको छ । यसरी जम्मा भएको लेदोसहितको माटो उपयोग गर्न नमिल्ने भएपछि प्राधिकरणले आफ्नै जमिनमा लगेर व्यवस्थापन गरिरहेको छ । करिब १४ करोडको ठेक्का लगाएर बालुवा निकाल्ने काम भइरहेको छ । १२ सय मिटरको बाइपास क्यानल (नहर) निर्माण गरेर विद्युत् उत्पादन भइरहेको छ । यो जलाशय करिब ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ ।
बिदुर नगरपालिकाले पनि जलाशय क्षेत्रको करिब २ सय ५० रोपनी क्षेत्रफलमा जलबिहार परियोजना निर्माणमा लगानी गरेको नगर प्रमुख राजन श्रेष्ठले बताए । उनका अनुसार प्राधिकरणसँगको सहकार्यमा जलविहार गर्ने र पर्यापर्यटन विकासका लागि योजना बनाइएको छ । मुलुककै पुरानो जलविद्युत् आयोजना त्रिशूलीको जीर्णोद्धारको काम भइरहेको छ । हाल जलाशयबाट बालुवा र लेदो झिक्नुका साथै नयाँ उपकरण जडान तथा ट्रान्सफर्मरहरूसमेत परिवर्तन गर्ने काम भइरहेको छ ।
प्राधिकरणको अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार त्रिशूली आयोजनाले गत वर्ष १३७.१ गिगावाट विद्युत् उत्पादन गरेको थियो । आयोजनाको क्षमता १६३ गिगावाट विद्युत् छ । स्थापना भएयता आयोजनाले ५ हजार ६९३.९३ गिगावाट विद्युत् उत्पादन गरेको प्राधिकरणले जनाएको छ ।

अर्थ वाणिज्य

भन्सारमा रोकिएका गाडी चोभार बन्दरगाहमा ल्याइँदै

- विमल खतिवडा

(काठमाडौं)
एक वर्षदेखि भैरहवा र वीरगन्ज भन्सारमा रोकिएका सवारीसाधन चोभारस्थित सुक्खा बन्दरगाहमा ल्याउने तयारी थालिएको छ । तत्काल भन्सार छुटाएर ल्याउन नसकेपछि र राखिराख्दा पार्किङ शुल्क महँगो पर्ने भएपछि चोभारमा ल्याइदिन व्यवसायीले माग गरेका हुन् । भन्सार विभागले यसबारे छलफल थालेको जनाएको छ । व्यवसायीका अनुसार अहिले भैरहवामा १ हजार १ सय र वीरगन्जमा १ हजार ६ सय गाडी रोकिएका छन् ।
विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का गाडी ल्याउन सम्बन्धित भन्सार कार्यालयमा बुझ्ने काम भइरहेको बताउँछन् । ‘छलफलपछि यसबारे निर्णय हुनेछ,’ उनले भने । उनले चोभारमा ल्याएर राख्न पाए पार्किङ शुल्क सस्तो पर्ने र त्यहाँबाट बिस्तारै छुटाउँदै लग्ने व्यवसायीको मागअनुसार छलफल अघि बढाइएको बताए । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले चोभारमा दुवै भन्सार कार्यालयबाट ५ सय गाडी राख्न दिन माग गरिएको बताए । ‘अहिले भन्सार नतिरी गाडी ल्याएर राख्छौं, बिस्तारै भन्सार तिर्दै गाडी छुटाउँदै लग्छौं भनेका छौं,’ उनले भने, ‘यसो गर्न सकिए भैरहवा र वीरगन्ज भन्सारमा गाडी पार्किङमा चाप नपर्ने र गाडी व्यवस्थापन गर्न पनि सजिलो हुनेछ ।’
‘एक वर्षदेखि भन्सारमा राखिएका नयाँ गाडीमा झार उम्रिएको छ,’ थापाले भने, ‘नयाँ गाडी शोरुममा नल्याउँदै पुराना भए कसरी बिक्री गर्नु ?’ विभागको निर्देशनअनुसार अहिले भन्सारमा कुन कम्पनीका कति–कति गाडी छन् भनेर तथ्यांक लिइरहेको नाडाले जनायो । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्सारमा पार्किङ गरेर राखिएका गाडीको संख्या धेरै भएको भन्दै सुक्खा बन्दरगाह पठाउन सुझाव दिएको बताउँछन् । ‘भन्सारमा गाडी राख्ने ठाउँ अभाव देखियो, हामीसँग ठाउँ छ,’ उनले भने, ‘भन्सार कार्यालयलाई ३ सय गाडी चोभार पठाइदिन भनेका छौं, नाडाका पदाधिकारीसँग यसबारे छलफल भएको छ, उनीहरू सकारात्मक छन् ।’ उनले पार्किङ क्षमता ५ सयवटा अट्ने भएकाले ३ सयभन्दा बढी गाडी ल्याए पनि समस्या नहुने बताए । ‘तोकिएको न्यूनतम शुल्क लिएर गाडी राख्न सकिन्छ,’ उनले भने ।
व्यवसायीले बैंकले ऋण सुविधा नदिएको र शोरूमका पनि बिक्री नभएकाले भन्सारबाट नयाँ गाडी जाँचपास गराउन नसकेको बताएका छन् । ‘शोरुममै भएका गाडी बिक्री भएको छैन, तत्काल गाडी छुटाएर ल्याउन सक्ने अवस्था छैन,’ नाडाका अध्यक्ष थापाले भने । एउटा गाडी भन्सार पास गराउन न्यूनतम १५ लाखदेखि बढीमा साढे दुई करोड रुपैयाँसम्म पर्ने उनको भनाइ छ । नेपालमा धेरै सवारी भित्रिने भन्सार नाकामा वीरगन्ज र भैरहवा पर्छन् । अध्यक्ष थापाका अनुसार व्यावसायिक प्रयोजन (कमर्सियल) का लागि ल्याइएका सवारीसाधन मात्रै भन्सारमा रोकिएका हुन् । निजी प्रयोजनका लागि गाडी अझै भन्सारमा आइसकेका छैनन् । पिकअप, बढी सिट क्षमताका जिप, बस, बसका च्यासिस, ट्रकलगायत जाँचपास हुन नसकेको उनले बताए ।

Page 10
अर्थ वाणिज्य

पर्यटक बढेपछि घलेगाउँमा चहलपहल

- आश गुरुङ

(लमजुङ)
पर्यटकको लर्को लागेपछि घलेगाउँकी कमला घले लोकल कुखुरा खोज्न तम्सिन्छन् । गुन्द्रुकको अचार, भट्टमास, सेलरोटीका लागि कोदो तयारी अवस्थामा छँदै छ । पर्यटक एक्कासि आइदिएपछि स्वागत गर्ने फुर्सद हुँदैन । पर्यटक फर्किने बेला भने फूलमाला र सेतो चामलको टीकाले बिदाइ गर्छिन् । ‘बर्खायाममा पर्यटक खासै आउँदैनन् । चिसो मौसममा पनि आउँदैनथे, तर यस पटक भने आइरहेका छन्,’ उनले भनिन्, ‘कहिलेकाहीं पर्यटक धेरै आएर कपाल कोर्ने फुर्सद पनि हुँदैन ।’
पर्यटकीय गाउँ भुजुङकी इन्द्रमाया गुरुङलाई पनि हिजोआज फुर्सद छैन । शुक्रबार र शनिबार बढी पर्यटक आउने उनी बताउँछिन् । ‘बाटो खुलेपछि पर्यटक आएका छन् । अहिले देशविदेशमा हाम्रो गाउँको प्रचार भएपछि पर्यटक आउने क्रम बढेको छ,’ उनले भनिन् । उनका अनुसार डेढ महिनाअघि कलाकार राजेश हमाल, पाइलट विजय लामा, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनील पोख्रेल, कलाकार विपिन कार्की, वर्षा सिवाकोटी, मधुसूदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्टलगायत डेढ सय पर्यटक आएका थिए ।
पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार अन्य दिनभन्दा शुक्रबार र शनिबार धेरै पर्यटक आउँछन् । ‘कहिलेकाहीं पर्यटक बढी हुँदा वरपरका गाउँमा पठाउँछौं,’ उनले भने । गाउँमा ४२ होमस्टे छन् । उनले फागुनको १५ दिनमा मात्रै एक हजारभन्दा बढी पर्यटक आएको बताए । धेरै पर्यटक हिजोआज घलेगाउँ कटेर भुजुङ पुग्छन् । क्व्होलासोंथार गाउँपालिका–३ घलेगाउँ कटेपछि मर्स्याङ्दी गाउँपालिका–१ को घनपोखरा गाउँ पर्यटकका लागि अर्को गन्तव्य हो । क्व्होलासोंथार–४ मा भुजुङ बास बस्न पुगेका पर्यटक फर्केपछि घलेगाउँ हेरेर बेसीसहर झर्छन् । कतिपयको भने गन्तव्य भुजुङ हुन्छ । भुजुङबाट कतिपय पर्यटक पसगाउँ जाने गरेका छन् । पसगाउँ आएका भुजुङ हुँदै घलेगाउँ भएर बेसीसहर झर्छन् । ‘भुजुङमा पर्यटक घुम्न मात्रै नभई ठूलो गाउँ भएकाले इतिहास, कला र संस्कृतिको अध्ययन गर्न पनि आउँछन्,’ पर्यटन व्यवस्थापन समिति अध्यक्ष तुलबहादुर गुरुङले भने । करिब ४ सय घरधुरी रहेको भुजुङका ३२ घरमा होमस्टे छन् ।
बेसीसहर–३ मा पर्ने काउलेपानीमा आन्तरिक मात्रै नभएर बाह्य पर्यटक पनि आउँछन् । काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देउबहादुर गुरुङका अनुसार बाह्य पर्यटकलाई पञ्चेबाजा बजाएर स्वागत गरिन्छ । ‘पर्यटक पाहुनालाई हामी गाउँको गेटमै स्वागत र बिदाइ गर्छौं । फेरि आइरहन आग्रह गर्छौं,’ उनले भने, ‘कतिपय पर्यटक दोहोर्‍याइतेहेर्‍याई आउने गरेका छन् ।’
पछिल्लो समय गाउँगाउँमा सडक पुगेपछि ठूला बससमेत रिजर्भ गरेर घुम्न आउनेहरू बढेका छन् । विद्यालय, क्याम्पसका शिक्षक विद्यार्थी, सहकारीका कर्मचारी अध्ययन अवलोकनका लागि आउँछन् । सरकारी उच्च अधिकारी, बैंकर्स, कलाकारसमेत आउने गरेका छन् । ‘पहिले–पहिले मोटरसाइकल, जिपमा आउँथे । हिजोआज बस चढेर आउँछन्,’ राइनास सामुदायिक होमस्टे उपाध्यक्ष विष्णु गुरुङले बताइन् ।
प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार लमजुङका होमस्टेमा पर्यटक आइरहेका छन् । ‘गाउँगाउँमा पर्यटक आउन थालेपछि होमस्टेको संख्या बढेको छ । घलेगाउँका महिलाको मुख्य पेसा नै होमस्टे हो । त्यसको आम्दानीले स्थानीयको जीवनस्तरमै परिवर्तन देखिन थालेको छ ।’ लमजुङमा खासुर, सिउरुङ, पसगाउँ, तुर्लुङकोट, मिप्रा, रक गार्डेन, भुष्मे, नरुवल, गिलुङ, गहते चर्चित होमस्टे गाउँ हुन् । धेरै होमस्टे सदरमुकामबाट पुगिन्छ । गिलुङ, पसगाउँ, भुजुङका होमस्टेमा पोखरा, दमौलीबाट पनि पुग्न सकिन्छ । राइनासकोट, तुर्लुङकोट, गहतेलगायत होमस्टे लमजुङ सीमा पाउदीबाट पुग्न सकिन्छ ।

अर्थ वाणिज्य

माछा खोलाको ४.५५ मेगावाट राष्ट्रिय प्रसारणमा

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– गोरखाको धार्चे गाउँपालिकास्थित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछा खोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको छ । आयोजनाको बिजुली सोमबारदेखि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारबाट भर्चुअल रूपमा उद्घाटन गरे ।
प्रवर्द्धक कम्पनी विकास हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले १५ दिन परीक्षणपछि उत्पादन थालेको जानकारी दिए । गोरखाको उत्तरी भूभागमा पर्ने बुढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा आयोजना निर्माण भएको हो । आयोजनामा ३५ प्रतिशत लगानी संस्थापकको छ भने बाँकी ६५ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकको लगानी गरेको छ । आयोजनाले विद्युत् प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौताअनुसार २०८० असार ३० मा विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । तर, उक्त सम्झौता मितिभन्दा ४ महिना निर्माण सकिएर उत्पादन सुरु भएको हो । प्रधानमन्त्री दाहालले जलविद्युत् निर्माणमा संलग्न गैरआवासीय नेपाली र स्थानीय लगानीकर्ताको योगदानका लागि धन्यवाद व्यक्त गर्दै एनआरएनलाई थप लगानी गर्न आग्रह गरे । उनले १३२ केभीएको प्रसारण लाइन निर्माणका लागि सरकारले तत्काल काम सुरु गर्ने बताए । उनले सरकारको अबको लक्ष्य सुशासन र विकास नै रहेको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । भर्चुअल उद्घाटन कार्यक्रममा गोरखाका सांसद राजेन्द्र बजगाईंले १३२ केभीएको प्रसारण लाइन निर्माण तत्कालै सुरु गर्नुपर्ने बताए । उक्त जलविद्युत् कम्पनीको नेतृत्व गैरआवासीय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन् भने सञ्चालक समितिको प्रबन्ध निर्देशकमा कृष्णप्रसाद घिमिरे, निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्रबहादुर ढकाल, सुनील श्रेष्ठलगायतका व्यवसायी छन् । एनआरएनएका कोषाध्यक्ष एवम् आयोजनाका लगानीकर्ता लोक दाहालले दिइएको समयसीमामा कैयौं जलविद्युत् आयोजना नबनेको अवस्थामा विकास हाइड्रोले तोकिएको समयअगावै काम पूरा गरेको बताए ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


मुरारका ग्रुप र सोमानी सेरामिक्सबीच सहकार्य
काठमाडौं (कास)– नेपालमा टायल उत्पादन केन्द्र खोल्न मुरारका ग्रुप र भारतको सोमानी सेरामिक्सबीच सहकार्य भएको छ । दुवैको संयुक्त उद्यमले नेपालमा करिब ३० लाख स्क्वायर मिटर वार्षिक क्षमताको टायल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो । काठमाडौंको मेरियट होटलमा कम्पनीका प्रतिनिधिको उपस्थितिमा आयोजित सम्मेलनमा उक्त सहकार्यका बारेमा जानकारी दिइएको छ । मुरारका ग्रुपका प्रबन्ध निर्देशक पशुपति मुरारकाले गुणस्तरीय उत्पादनमा आफू प्रतिबद्ध रहेको बताए । ‘यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टायलको आवश्यकतालाई परिपूर्ति गर्नेछ । साथै रोजगारीको सिर्जना गरी देशको आर्थिक विकासमा समेत टेवा पुग्नेछ,’ उनले भने । सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सीईओ अभिषेक सोमानीले आफूहरूले सञ्चालन गर्ने टायल उत्पादन केन्द्रले नेपाली बजारमा गुणस्तरीय उत्पादन थाल्ने बताए । उनले भने, ‘सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त टायल उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने विश्वास छ ।’
पोखरामा सेगवेको सोरुम
काठमाडौं (कास)– सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमानस्थलनजिकै नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । नयाँ सोरुमले यस क्षेत्रका ग्राहकलाई सेगवेको मौलिक उत्पादनको अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । सेगवेले पोखरा सोरुमबाट खरिद गरेको प्रत्येक सेगवे ई–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रूख रोप्ने जनाएको छ । पोखराको सोरुमले ग्राहकलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । ‘सोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन्, जसले कुनै पनि सेगवे स्कुटरका लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन्,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ । आईहबका अनुसार यो सोरुमले थ्री एस (बिक्री, सेवा र स्पेयर पार्ट्स) को सुविधा दिनेछ । नेपाली बजारमा सेगवे ई–सिरिजका ई–१००, ई–१२५ र ई–११० एल उपलब्ध छन् । सेगवले नेपालमा एनसिरिजको एन १०० सार्वजनिक गरेको छ ।
मेदान्त मेडिसिटीमा सिटिजन्सका कार्डवाहकलाई छुट
काठमाडौं (कास)– सिटिजन्स बैंकका कार्डवाहकलाई भारतको हरियाणास्थित मेदान्त–द मेडिसिटी अस्पतालमा छुट उपलब्ध हुने भएको छ । अस्पतालको सेवाशुल्कमा बैंकका कार्डवाहकले १५ प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको बैंकले जनाएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले हस्ताक्षर गरे । यो सम्झौताले भारतमा स्वास्थ्योपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहजता हुने बैंकको भनाइ छ । बैंकका देशभर १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।
सामसङले नेपालमा थाल्यो एस २३ सिरिजको बिक्री
काठमाडौं (कास)– सामसङले आफ्नो उत्पादनमै अब्बल दाबी गरेको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोन बिक्री थालेको छ । प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा फोनहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले प्रि–अर्डरको परिणाम उत्साहजनक रहेको दाबी गरे । नयाँ २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेनसहितको ग्यालेक्सी एस २३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस २३ सिरिजअन्तर्गत एस २३ प्लस र एस २३ छन् । एस २३ अल्ट्राको मूल्य १२ र ५१२ जीबीमा २ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै १२ र २५६ जीबीमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ । एस २३ प्लसको (८ र २५६ जीबी) १ लाख ५१ हजार ९९९ रुपैयाँ र एस २३ (८ र २५६ जीबी) को मूल्य १ लाख २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

 

Page 11
समाचार

आन्द्रामा क्यान्सर, ओमनमा अलपत्र

- रूपा गहतराज

(नेपालगन्ज)
आन्द्रामा क्यान्सर पुष्टि भएपछि बाँकेको बैजनाथ–२ पितमारीकी ४२ वर्षीया प्रमिला बैदारलाई चिकित्सकले आराम गर्न सुझाव दिए । त्यही बेला उनी स्थानीय सहकारीको सदस्य बनिन् । समूहबाट निकालेको ऋणले औषधिपानी जुट्यो । घर व्यवहार पनि चलाउनुपर्दा ऋणको भार थपिँदै गयो । सहकारीको ऋण चुकाउन अतिरिक्त पैसा कमाउनुपर्ने बाध्यता पर्‍यो । छिमेकीले कमाउन विदेश जान सुझाव दिए । त्यसका लागि सबै व्यवस्था मिलाउने आश्वासन पनि दिए ।
उपचारपछि घरायसी काममा लगाइदिने प्रलोभनमा छिमेकी राहुल शाही विकले प्रमिलालाई दिल्ली पुर्‍याए । परिवारलाई जानकारी नदिई उनी दिल्ली हुँदै गत कात्तिक १७ गते ओमन पुगिन् । त्यहाँ पुग्दा स्वास्थ्य समस्या बल्झियो । घरेलु कामदारका रूपमा पुगे पनि काम गर्न सकिनन् । त्यस्तो अवस्थामा रोजगारदाताले आराम गर्न दिएनन् । चार महिनादेखि उनी बिरानो देशमा अलपत्र छिन् । प्रमिलाका आफन्तका अनुसार तीन महिनादेखि उनलाई एउटा कोठामा बन्धक बनाएर राखिएको छ । ‘उपचारका नाममा दलालको फन्दामा पर्नुभयो,’ भाइ अजय बैदारले भने, ‘दलालसँग फोनमा कुरा गर्दा ३ लाख ५० हजार पठाइदिए मात्र दिदी फिर्ता पठाइदिने भन्छन् । पैसा छैन, के गरेर दिदीलाई घर फर्काउने ?’ एक महिनादेखि काठमाडौं पुगेर सबै मन्त्रालय धाए पनि सरकारले आफ्नो कुरा नसुनेको उनले गुनासो गरे । उनका अनुसार कात्तिक १७ गते दिदीसँग फोनमा कुराकानी भएको थियो । ‘पूरै शरीर सुन्निएर थला पर्नुभएको छ । रोइकराइ गर्नुहुन्छ,’ उनले भने, ‘तर, दलालको मन पग्लिँदैन ।’
प्रमिलाका दुई छोरा भारतमा रोजगारी गर्छन् । १५ वर्षीया छोरी बुबासँग घरमा छन् । ‘म बिरामी भएर अस्पताल भएका बेला खबर नै नगरी विदेश गइछन् । अहिले फोनमा रुन्छिन्– मलाई घर लैजाऊ भन्छिन्,’ प्रमिलाका पति रेशमले भने, ‘सम्पत्तिका नाममा एक धुर जमिन छैन । पेट पाल्न काम गर्ने साहस पनि छैन । बिरामी पत्नीलाई कसरी फर्काऊँ !’
बैजनाथको सुकुम्बासी बस्तीमा सात सय घरधुरी छन् । पाँच सय हाराहारी दलित समुदायको बसोबास छ । यहाँका अधिकांश महिला ऋणले च्यापिएर चोर बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा गएका छन् । जोखिम मोलेर केहीले काम गरे पनि भाषा तथा काम गर्न नजान्ने बन्धक भएर बसेको पीडित परिवारले बताए । प्रमिलाकी छिमेकी ४२ वर्षीया आशा परियार कुवेतमा दुई महिनादेखि बन्धक अवस्थामा छिन् । काम गर्न नसकेपछि उनलाई एजेन्टले एउटा कोठामा राखिदिएका हुन् । गर्जो टार्न गाउँको सहकारीबाट लिएको ऋण ५ लाख पुग्यो । त्यसपछि घर बस्ने स्थिति बनेन । गत साउनमा पासपोर्ट बनाउन काठमाडौं पुगिन् । त्यहाँबाट फर्केर दुई कलिला छोराछोरीलाई माइली छोरीको जिम्मा लगाएर विदेश यात्रा गरिन् । त्यतिबेला उनका पति भारतमै थिए । कुवेत पुगेपछि उनले घरायसी काम पाइन् । तर काम गर्न नजानेपछि घर मालिकले उनलाई कामबाटै निकालिदिए । अरू काममा लगाइदिनुस् भन्दा एजेन्टले मानेनन् । ‘ममीले पुगेर फोन गर्नुभएको थियो । अहिले काम नगरेर कोठामा बस्नुभएको छ,’ छोरी सपनाले भनिन्, ‘घर पठाइदिनु भन्दा एजेन्टले टिकटको पैसा पठाइदेऊ, ममीलाई पठाइदिन्छु भन्छ । घरमा खाने पैसा छैन, कहाँबाट पैसा खोजेर पठाऊँ ? अहिले त ममीले गर्न सके यतै काम गर्छु, नसके यतै मरौंला भन्नुहुन्छ ।’ गाउँका विपन्न तथा दलित महिलालाई राम्रो कमाइ हुने आश्वासनमा दलालले विदेश पुर्‍याइरहेका छन् । सीप नभएका महिलाले काम गर्न जान्दैनन्, त्यसपछि अलपत्र रहेर जोखिम झेल्नुपर्ने अवस्था छ ।
स्थानीय सीता विकले एक वर्ष पूरा नभएका काखे छोरालाई भारतमा रहेकी सासूलाई घर बोलाएर जिम्मा लगाइन् र एक महिनाअघि कुवेत पुगिन् । विदेश जाँदा टिकटको पैसा नलाग्ने अनि राम्रो कामसँगै पैसा धेरै कमाइने प्रलोभनमा पुगेकी उनी अहिले बिरामी भएर थलिएकी छन् । उनको एउटा हात र खुट्टा नचल्ने समस्या भएको छ । हातमा सीप नहुँदा र बिरानो देशको कामकाज नबुझ्दा उनले काम पाउन सकेकी छैनन् । २ लाख ५० हजार पठाइदिए घर फिर्ता गरिदिने एजेन्टले दबाब दिएका छन् । ‘नबुझेर आत्तिएर गई, अहिले आमा खोज्दै सानो छोरा बिरामी भएको छ,’ बिरामी पति राजु विकले भने, ‘परिवार छोडेर जान कसलाई पो रहर लाग्छ ! बाध्यताले पठाइयो । सास आउने हो कि लास, हामी गरिबको जिन्दगीको के मूल्य छ र π’
गाउँका अधिकांश दलित विपन्न अशिक्षित महिला जोखिम मोलेर वैदेशिक यात्रामा छन् । कतिले त आफू समस्यामा परेको घरपरिवारलाई बताउन पनि सकेका छैनन् । प्रविधिको पहुँच नभएकाहरू परिवारको सम्पर्कमा हुँदैनन् । सरकारी संयन्त्र सक्रिय नहुँदा वैदेशिक यात्राको जोखिमका बारेमा समुदायस्तरमा चेतना पुगेको छैन । ‘गाउँघरमा दलाल छन् । छिटो पैसा कमाउने लोभमा विदेश जाने महिला असुरक्षित जोखिम यात्रा गर्न लालायित छन्,’ अधिकारकर्मी कमला पन्तले भनिन्, ‘विडम्बना, उद्धारमा सरकारी संयन्त्र कमजोर छ । बरु सास ल्याउनुभन्दा लास ल्याउन सजिलो छ ।’
यस्ता विपन्न अशिक्षित महिलालाई गाउँघरमै रोजगारीको सिर्जना गरेर जीविकोपार्जन गर्ने खालका कार्यक्रम स्थानीय पालिकाले ल्याएको पनि देखिँदैन । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले सकेसम्म जोखिममा गएका महिलाको लागत संकलन गरेर यो विषय सरोकार निकायसम्म पुर्‍याउन पहल गरिरहेको दाबी गरे । ‘हामीले अभियान चलाइरहेका छौं,’ उनले भने, ‘भैंसीलाई त गोठमा थुनेर राख्न सकिन्न झन् मान्छेलाई रोकेर रोक्न कहाँ सकिन्छ र !’

समाचार

प्रज्ञाका आजीवन सदस्यको दोहोरो सुविधा कटौती

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यको मासिक पारिश्रमिक कटौती गरेको छ । प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी निर्णयबारे जानकारी दिएको हो ।
प्राज्ञहरूबाटै उन्नत नैतिकताको पाठ सिकाउन उक्त निर्णय गर्नुपरेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताए । प्रतिष्ठानमा २० जना आजीवन सदस्य छन् । त्यसबाहेक सरकारको निर्णयानुसार प्रतिष्ठानबाट विशेष सुविधा पाउनेमा राष्ट्र गानका रचयिता व्याकुल माइला र साहित्यकार झमक घिमिरे छन् । त्रिभुवन विश्वविद्यालय, निजामती सेवा र अरू सरकारी सेवाबाट निवृत्तिभरण पाउने आजीवन सदस्यको दोहोरो सुविधा कटौती गर्ने निर्णय गरिएको हो ।
दोहोरो सुविधा लिएका आजीवन सदस्यको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सिर्जनाशील क्षेत्रमा लगानी गर्ने योजना रहेको पनि कुलपति राईले जानकारी दिए । ‘नैतिकतासँग गाँसिएको विषय हो,’ उनले भने, ‘यो कार्यसमितिबाटै सुरुवात गरौं भनेर प्रतिष्ठानले निर्णय गरेको हो ।’
एक जना आजीवन सदस्यले मासिक ५१ हजार ४ सय ४७ रुपैयाँ पाउँदै आएका छन् । दोहोरो सुविधा लिनेबारे छानबिन हुन बाँकी रहेको प्रतिष्ठानले जनाएको छ । आजीवन सदस्यको पारिश्रमिकमा वार्षिक १ करोड २० लाखभन्दा बढी खर्च हुँदै आएको छ ।
यस्तै, बैठकले परिषद् सदस्यहरूको कार्यविभाजनसमेत गरेको छ । कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास, उपकुलपति विमल निभालाई बालसाहित्य, सदस्य सचिव धनप्रसाद सुवेदीलाई कोश, व्याकरणको जिम्मेवारी दिइएको छ । यस्तै, प्राज्ञहरू मधुसूदन गिरीलाई समालोचना तथा साहित्येतिहास, कृष्णराज अधिकारीलाई दर्शनशास्त्र, राजन मुकारुङलाई मातृभाषा, बाबा बस्नेतलाई पद्य साहित्य/काव्य, कौशिला रिसाललाई सामाजिकशास्त्र, हंसावती कुर्मीलाई अनुवाद, अमर न्यौपानेलाई गद्य साहित्य, त्रैलोक्यमान बनेपालीलाई मातृभाषा कोश र व्याकरणको जिम्मेवारी तोकिएको छ ।

समाचार

कान्तिपुरकर्मी कुँवर पुरस्कृत

- कान्तिपुर संवाददाता

पोखरा (कास)– कान्तिपुरकर्मी सुरज कुँवर ‘रवीन्द्र अधिकारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ बाट सोमबार सम्मानित भएका छन् । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सोमबार उनलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।
अधिकारीको चौथो स्मृति दिवसका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कुँवरलाई पुरस्कार प्रदान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार पाउने कुँवर पहिलो हुन् । १८ वर्षदेखि कान्तिपुरमा आबद्ध कुँवरले एक दशकदेखि उड्डयन र पर्यटनका विषयमा लेख्दै आएका छन् । प्रतिभा छनोट समितिका संयोजक बद्रीविनोद प्रतीकले कान्तिपुर दैनिकमार्फत निरन्तर उड्डयन र पर्यटनका विषयवस्तु उठान गरेकाले कुँवरलाई पुरस्कृत गरिएको उल्लेख गरे ।
प्रतिष्ठानकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले अधिकारीको स्मृतिमा आइतबार, सोमबार र मंगलबार विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । एमाले नेता एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ०७५ फागुन १५ मा ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

 

समाचार

'सर्भाइभर’को पक्षमा प्रदर्शन

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– ‘सर्भाइभर’हरूको पक्षमा ऐक्यबद्धता जनाउँदै सोमबार माइतीघरमा प्रदर्शन भएको छ । ‘अदालती पितृसत्ता मुर्दावाद’, ‘राज्यसत्ता मुर्दावाद’, ‘बलात्कारी संरक्षक होसियार’, ‘छोरीहरूलाई बाँच्न देऊ’, ‘भतभती पोल्छ तब न मान्छे बोल्छ’, ‘सर्भाइभरलाई हिम्मत’, ‘उत्पीडकलाई चेतावनी’ लगायत ब्यानरसहित प्रदर्शनकारीहरूले नारा लगाएका थिए ।
आन्दोलनमा सहभागी रोशन तामाङले उच्च पहुँच भएकाहरूको न्यायलयमा उत्पीडित वर्गहरूले न्याय नपाउने अवस्था रहेको बताए । ‘पीडितहरूलाई दबाब दिएर बयान फेर्न लगाइन्छ, न्याय खोसिन्छ अनि अपराधीलाई फूलमाला र जयजयकार हुन्छ,’ उनले भने, ‘पीडितलाई सहानुभूति र हिंस्रक प्रवृत्तिलाई खबरदारी गर्न हामी यहाँ जम्मा भएका हौं ।’
ऐक्यबद्धता जनाउन आएका प्रकाश देवकोटाले नेपालमा विचारहरूको मन्थन नै नहुने र गम्भीर अपराधलाई पनि सामन्यीकरण गर्ने चलन रहेको बताए । ‘यस्तो प्रवृत्तिले देशलाई सही दिशामा पुर्‍याउँदैन । सचेत मान्छेहरूले आवाज उठाउन आवश्यक छ,’ उनले भने ।

Page 12
खेलकुद

लगातार पाँचौं जितको कीर्तिमान

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार ५ खेलमा जितको कीर्तिमान बनाएको छ । नेपालले यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ४ विकेटको जित हात पार्दै पहिलो पटक लगातार ५ खेल जितेको हो ।
टस हारेपछि ब्याटिङमा आएको पपुवा न्युगिनीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले ४५.२ ओभरमा २ सय ७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो ।
अघिल्लो साता घरेलु मैदानमा लिग २ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्ध २–२ खेल गरी सबै ४ खेल जितेर क्लिन स्विप गरेको नेपाललाई पीएनजीविरुद्धको जितले लगातार जितको कीर्तिमानमा पुर्‍याएको हो ।
नेपालले सन् २०२० को फेब्रुअरीदेखि २०२१ सेप्टेम्बरसम्म गरी एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेल जितेको थियो । यसक्रममा नेपालले लिग २ कै खेलमा अमेरिकालाई कीर्तिपुर र ओमानमा गरी २ पटक तथा पीएनजीलाई मस्कटमा भएको द्विपक्षीय शृंखलामा दुई पटक पराजित गरेको थियो ।
प्लेयर अफ द म्याच कुशलले ५६ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको चौथो अर्धशतक हो । ६९ बल खेल्दै उनले ५ चौका प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटमा १५ ओभरभित्र ७६ रनको ठोस साझेदारी गरेर नेपालको विजय आधार खडा गरे । आसिफले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए ।
आसिफ रनआउट भए । आफ्नै कलमा रन लिन दौडिए पनि नन स्ट्राइकमा रहेका कुशलले याद नगरेपछि आसिफ रनआउट हुन पुगे । ज्ञानेन्द्र मल्ल ४ रन बनाई इन्साइड एज लागेर नोर्मन भानुआको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले ३४ बलमा १४ रन बनाए ।
टोलीमा फर्किएका आरिफ शेखले दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटमा ५४ रनको साझेदारी गरे । ६ बल अन्तरमा उनीहरू दुवै आउट भए । आरिफले ६६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाए । दीपेन्द्र २२ रनमा आउट भए । कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा अविजित रहे । पपुवा न्युगिनीबाट असाद भालाले ३ विकेट लिए । उनले १० ओभरमा ३७ रन खर्चे ।
यसअघि पपुवा न्युगिनीबाट कप्तान भालाले ३६ रन बनाएका थिए । उनले ५३ बल खेल्दै ४ चौका प्रहार गरे । सेसे बाउले ५१ बल खेल्दा ३ चौका प्रहार गरेर ३१, किप्लिन डोरिगाले ५९ बलमा ४ चौका प्रहार गरेर २९ रन बनाए । ओपनर टोनी उरा २ र चार्ल्स अमिनी ६ रनमा आउट भए ।
चाड सोपर ३६ रन बनाई अविजित रहे । उनले ५३ बल खेल्दै २ चौका प्रहार गरे । नोर्मन भानुआले खेलको अन्त्यतिर १५ बलमा २५ रन बनाए । उनले समान २ चौका र छक्का प्रहार गरे । नेपालका गुलशन झाले ३ विकेट लिए । उनले ९ ओभरमा २८ रन खर्चे । कुशल मल्लले ८ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र करण केसीको नाममा १–१ विकेट रह्यो ।
‘डेब्यु’ गरेका प्रतिश जिसी केही महँगा साबित भए । उनले ६ ओभरमा ३७ रन खर्चेर एक विकेट लिए । दीपेन्द्रले सानदार क्याच लिएर हिरी हिरीलाई १० रनमा पेभेलियन फर्काउँदै प्रतिशलाई पहिलो विकेट लिन सहयोग गरे ।
लिग २ मा पुछारको पपुवा न्युगिनीले पछिल्ला ६ खेल नै हारेको छ । टोलीले लिग २ का २९ खेलमा २ मा मात्र जित हात पार्न सकेको छ ।
नेपाल २९ खेलको समाप्तिमा २८ अंकसहित सात राष्ट्र सहभागी लिग २ को छैटौं स्थानमा छ । नेपालले बाँकी ७ मध्ये ४ खेल जितेमा शीर्ष पाँचभित्र परेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ भने ६ खेल जितेमा शीर्ष ३ राष्ट्र बन्दै जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नेछ ।
यूएई भ्रमणमा नेपालले पपुवा न्युगिनी र यूएईसँग २–२ खेल खेलेपछि लगत्तै काठमाडौं आएर यही दुई टोलीसँग थप २–२ खेल खेल्दै लिग २ को यात्रा टुंग्याउने छ ।

 

खेलकुद

नेपालको यू–१९ मा सफलता कायमै

- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोट क्रिकेटमा लगातार तेस्रो विजय हात पारेको छ । आकाश त्रिपाठीले अर्धशतक बनाएपछि नेपालले सोमबार यूएईको अजमानमा हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।
टस जितेर ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएपछि जवाफमा आएको नेपालले मालेक क्रिकेट मैदानमा प्लेयर अफ द म्याच आकाशको अविजित ६४ रनमा १ सय २६ रन बनाउँदै २२.१ ओभरभित्रै लक्ष्य पूरा गर्‍यो ।
प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र त्यसपछि कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । ६ राष्ट्रसम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्नेछ । मलेसियाविरुद्ध मंगलबार र यूएईविरुद्ध बिहीबार दुई खेल जितेमा नेपालले राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगिता जित्ने छ । यूएईले पनि लगातार तीन खेल जितिसकेको छ । यूएईले सोमबार नै भएको खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्‍यो । सिंगापुरलाई ४७.४ ओभरमा १ सय १ रनमा अलआउट गरेपछि यूएईले त्यो लक्ष्य १३.२ ओभरमै पुरा गर्‍यो ।
आकाशले प्रतियोगितामा दोस्रो अर्धशतक बनाए । उनले ७२ बल खेलेर ५ चौका र ४ छक्का प्रहार गरे । आकाशले एलियन जाहिरको बलमा छक्का प्रहार गर्दै विजयी रन बटुले । उनले दोस्रो विकेटमा उत्तम थापामगरसँग अविजित ९८ रनको साझेदारी गरे । उत्तम ३९ रन बनाई अविजित रहे । उनले ५० बल खेल्दै ४ चौका प्रहार गरे । अर्जुन कुमालले १६ रन बनाए । अघिल्लो खेलमा शतक बनाएका उनले ३६ बल खेल्दै २ चौका प्रहार गरे ।
यसअघि हङकङबाट पार्थ भागवतले सर्वाधिक ३६ रन बनाएका थिए । उनले ९३ बल खेल्दै ४ चौका प्रहार गरे । एलियन जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन बनाए । कप्तान आहान त्रिवेदीले ११ रन बनाए ।
नेपालबाट हेमन्त धामीले ३ विकेट लिए । उनले ९ ओभरमा ३ मेडन राख्दै ३७ रन खर्चे । सुवास भण्डारीले १० ओभरमा ३ मेडन राखेर १० रनमात्र खर्चेर २ विकेट लिए । आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ र दीपेश कँडेलले १ विकेट लिए । दीपेशले १० ओभरमा ३ मेडन राख्दै १७ रन खर्चे । हङकङका दुई खेलाडी रनआउट भए ।

 

खेलकुद

लिगको अधिकार एक करोड ९७ लाखमा बिक्री

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङ अधिकार एक करोड ९७ लाख रुपैयाँमा एमडीएसी स्पोर्ट्स प्रालिलाई बिक्री गरेको छ ।
‘ए, बी र सी डिभिजन लिगको टाइटल स्पोन्सरबाहेक मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङसम्बन्धी सम्पूर्ण अधिकार एमडीएसी स्पोर्ट्सलाई भ्याटबाहेक १ करोड ९७ लाखमा दिने निर्णय गरिएको छ,’ एन्फाका महासचिव किरण राईले सोमबार भने, ‘यो सम्झौता यही एक सिजनका लागि हो ।’ सोमबार सम्झौता–पत्रमा महासचिव राई र एमडीएसी स्पोर्ट्सका सीईओ अर्जुन घिमिरेले हस्ताक्षर गरे ।
निर्णय प्रक्रियाबारे महासचिव राईले भने, ‘हामीले टिकेटिङ १ करोड ५० लाख, मार्केटिङ १ करोड ५० लाख र ब्रोडकास्टिङ ६० लाख रुपैयाँ न्युनतम रकम तोकेका थियौं तर त्यसमा कुनै टेण्डर परेन । फेरि ७ दिनको सूचना दिएर टेण्डर निकाल्दा हन्ड्रेड स्पोर्ट्सले भ्याटसहित १ करोड ५० लाख (सबैका लागि) हालेको थियो तर न्युनतमभन्दा पनि थोरै भएपछि स्थगित गरियो । त्यसपछि छलफल गरेर सबैलाई खुला गर्दै सबभन्दा बढी बोलकबोल गर्नेलाई दिने गरी तीने सूचना निकाल्यौं, जसमा दुई कम्पनी (एमडीएसी र हन्ड्रेड स्पोर्ट्स) ले प्रस्ताव हालेका थिए । र, सबैभन्दा बढी प्रस्ताव गरेको एमडीएसीलाई मूल्यांकन समितिको सिफारिसअनुसार छनोट गर्ने नर्णय गरिएको हो ।’ उनका अनुसार हन्ड्रेड स्पोर्ट्सले भ्याटसहित १ करोड ८६ लाख दिने प्रस्ताव गरेको थियो ।
ए डिभिजन लिग फागुन १९ गते सुरु हुँदै छ । यसपालि ‘डबल लिग’ का आधारमा १४ क्लबले कुल १ सय ८२ खेल खेल्ने छन् । दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स मैदानमा असारसम्म चल्ने लिगका लागि एमडीएसीले दिएको रकम थोरै भएन ? महासचिव राईको जवाफ थियो, ‘नेपाली फुटबलको मूल्य (१ करोड ९७ लाख) यतिमात्रै होइन । दुःखका साथ भन्नुपर्दा सस्तो भयो । हाम्रो तयारी राम्रो भएन । कहिले क्लबसँग त कहिले कोसँग समस्या भइरह्यो । यो पाठकै रूपमा रह्यो ।’
उनले थपे, ‘पहिला टिकेटिङ अधिकार १ करोडमा बिक्री गरिएकामा हालसम्म ६० लाखमात्रै आएको छ । बाँकी ४० लाखको टुंगो छैन । ब्रोडकास्टिङको पनि सबै पैसा आएको छैन । किचलो छ । तर, यसपालि पैसा नआउने भन्ने हुँदैन । आधा रकम आइसक्यो । आधा रकमको बैंक ग्यारेन्टी पनि आइसक्यो ।’
एमडीएसीले ब्रोडकास्टिङ र डिजिटल अधिकार स्पेस ४के टिभीलाई बिक्री गरेको छ । स्पेस ४केका प्रमुख दिनेशकुमार शाहीका अनुसार ए डिभिजन लिगका कम्तीमा आधा
खेल (९१) टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्नेछ ।

खेलकुद

मछिन्द्र र आर्मीको आफ्नै दाबी

- अर्जुन राजवंशी

(बिर्तामोड)
प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मंगलबार ‘ए’ डिभिजन प्रतिस्पर्धी मछिन्द्र र त्रिभुवन आर्मी क्लबबीच फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । सिजनको दोस्रो उपाधि जित्ने दाउसहित लिग विजेता मछिन्द्र भद्रपुरस्थित मेची रंगशालामा उत्रन लागेको हो । साताअघि सर्लाहीमा राजर्षि जनक कप जितेको मछिन्द्र भद्रपुर झापा गोल्डकपमा विजयी हुनेमा विश्वस्त रहेको प्रशिक्षक प्रवेश कटुवालको दाबी छ । सोमबार उनले भने, ‘आफ्ना सबै खेलाडीहरूले राम्रो खेलिरहेका छन् । फाइनल जित्ने रणनीतिमा साथ खेलाडी मैदानमा उतार्ने तयारी छ । त्यसैले ढुक्क छौं, गोल्डकप हामीले नै जित्छौं ।’
उनले झापा मछिन्द्रको होम ग्राउन्डसरह भएको दाबी गरे । ‘झापा हाम्रो होम ग्राउन्डसरह छ । टिममा झापाका मात्रै ७ खेलाडी छन् । म पनि यहीको हुँ । त्यसैले पनि यो गोल्डकप हाम्रा लागि महत्त्वपूर्ण छ । हामीलाई दर्शक र मैदानले पनि साथ दिन्छ भन्ने विश्वास छ,’ कटुवाल गृह जिल्लाप्रति भावनात्मक बने । कप्तान सुजल श्रेष्ठले गोल्डकपको दुई खेलमा आफ्नो टिमको प्रदर्शन चित्तबुझ्दो नै रहेकाले फाइनलमा पनि राम्रो प्रदर्शन गर्नेगरी रणनीति बनाइरहेको बताए ।
विभागीय टोली आर्मीका प्रशिक्षक राजु तामाङले मछिन्द्र सशक्त प्रतिद्वन्द्वी भएको बताए । उनले आफूहरू पनि लिगको दोस्रो टिम भएकाले भद्रपुर झापा गोल्डकपको फाइनलमा नतिजा निकाल्ने गरी रणनीति बनाएर मैदान उत्रिने बताए । उनले भने, ‘झापा हाम्रा लागि सधैं राम्रो नतिजा प्राप्त हुने जिल्ला हो । विगतमा झापा गोल्डकपको पाँचौं संस्करणमध्ये चार संस्करण विजेता बन्न सफल भयौं । भद्रपुरमा पनि पहिलो पटकमै फाइनल खेलिरहेका छौं । त्यसैले यो गोल्डकपका उपाधि पनि हामीले नै जित्नेमा विश्वस्त छौं ।’
उनले लिगमा मछिन्द्रसँग नतिजा हात पार्न नसके पनि गोल्डकप नकआउट गेम भएकाले ९० मिनेटभित्रै नतिजा ल्याउने गरी खेल्ने बताए । भद्रपुर झापा गोल्डकपमा आर्मीले अधिकांश दोस्रो टिमका खेलाडीलाई खेलाइरहेको छ । ‘टिममा अधिकांश नयाँ खेलाडी छन् । तर, उनीहरूले निकै राम्रो खेलिरहेका छन् । रणनीतिअनुसार नै नतिजा आइरहेकाले फाइनलमा पनि हामी नतिजा निकाल्न सफल हुन्छौं भन्ने विश्वास छ,’ प्रशिक्षक तामाङले भने ।
सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई र मछिन्द्रले एपीएफ क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, फाइनलका पहिलो गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकका महासचिव जीवनकुमार श्रेष्ठले जनाए ।

खेलकुद

पूर्वविजेता पुलिस पराजित

- प्रदीप मेन्याङ्बो

(सुनसरी)
निशान लिम्बूको दुई गोल मदतमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) धरान रंगशालामा भइरहेको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै केएफटीसीले अन्तिम चारमा स्थान पक्का गरेको हो । अब केएफटीसीले भारत कर्स्याङको युनाइटेड कर्स्याङ फुटबल क्लबसँग फागुन १७ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । केएफटीसीले बुढासुब्बाको २१ औं संस्करणमा पुलिससँग बेहोरेको हारको बदला यसपालि २३ औं संस्करणमा लिएको छ ।
पुलिसविरुद्ध झापाका खेलाडीले लगातार आक्रामक शैली अपनाए । खेलको २० र ८१ औं मिनेटमा निशानले गोल गरेका थिए । उनले पहिलो गोल आफ्नै प्रयास र दोस्रो गोल कप्तान गिल्सनले मैदानको मध्यभागबाट मिलाइदिएको पासमार्फत् गरेका थिए । केएफटीसीमा हिमालयन
शेर्पा क्लबका अधिकांश खेलाडी सहभागी छन् ।
पहिलो गोल खाएपछि सम्हालिन नसकेको पुलिसको गोल फर्काउने प्रयास सफल हुन सकेन । झापा टिममा तीन विदेशी खेलाडी रहे पनि एकजना मात्र मैदानमा उतारेको थियो । स्ट्राइकर यामीलाई मात्र उतारेको थियो । २५ औं मिनेटमा बक्स नजिकैबाट निशानले गरेको प्रहार क्रसबारमा ठोक्किएर रिबाउन्ड भयो । खेलको ३५ औं मिनेटमा म्यान अफ द म्याच निशानको फ्रिकिक प्रहार बारमा लागेर फर्किएको थियो । लगत्तै यामीको प्रहार गोलरक्षक अमित तामाङले बचाए । खेलको २७ औं मिनेटमा गोलरक्षक अमित बिट भएको बेला यामीको सशक्त प्रहार पनि बाहिरियो । ३० औ मिनेटमा खमिरको पासमा यामीको अर्को प्रहार अमितले रोके ।
पुलिसले बुढासुब्बा गोल्डकपमा यसपालि आशा गरेअनुरुप प्रदर्शन गर्न सकेन । खेलको ११ औं मिनेटमा समिर राईको पासमा भोला सिलवालको प्रहार विपक्षी गोलरक्षक दिवस चौधरीले बचाए । ३० औं मिनेटमा सन्देश बिकको पासमा दिलबहादुर तामाङको प्रहार सहजै गोलरक्षक चौधरीले रोके । लगत्तै भोलाको पासमा मिसेक लिङदेनको प्रहारले पोस्टको दिशा लिन सकेन ।
भद्रपुर झापा गोल्डकपमा चर्च ब्वाइज क्लबसँग पराजित भएर बुढासुब्बा गोल्डकपमा खेल्न आइपुगेको पुलिसको कप्तानी पहिलो हाफमा भोला र दोस्रो हाफमा जुमनु राईले सम्हालेका थिए । पुलिस टिममा अनुभवी खेलाडी भोला सिलवाल, सुमन सुवेदी भए पनि उमेरका कारण झापाका युवा खेलाडीका सामु उनीहरू निरीह भए ।
केएफटीसीका प्रशिक्षक मुन्ना सुब्बाले भने, ‘पहिलो हाफमै गोल गरेकाले पुलिसविरुद्ध हामीले २–० स्कोर गर्न सक्छौं भन्ने लागेको थियो । तर पाएका अवसरहरू सदुपयोग हुन सकेन । पुलिसको काउन्टर आक्रमणलाई पनि हामीले असफल बनायौं ।’ पुलिसका कप्तान भोला सिलवालले अधिकांश राम्रा खेलाडी विदेशिएको र नयाँ खेलाडी तथा पुराना खेलाडी खेलाउँदा तारतम्य मिल्न नसकेको बताए । उनले
भने, ‘पाएका अवसरलाई गोलमा परिणत गर्न सकेनौं । मेरै प्रहार मिस भयो । पुलिसको खेल प्रदर्शन केही खस्किएकै हो ।’

खेलकुद

पूर्वकप्तान पारसलाई सम्मान

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– मनास्लु वर्ल्ड स्कुल/कलेजले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई सोमबार मनास्लु खेलकुद सम्मान प्रदान गरेको छ । मनास्लुले २५ औं स्थापना दिवसका अवसरमा नेपाली क्रिकेटलाई माथि उठाउन महत्त्वपूर्ण योगदान पुर्‍याएवापत पारसलाई खेलक्षेत्रबाट सम्मान गरेको हो । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सञ्चारकर्मी टीकाराम यात्री, शिक्षाकर्मी रितुराज सापकोटा र समाजसेवी रामजी अधिकारीलाई पनि सम्मान गरिएको थियो । मनास्लु वर्ल्ड कजेजका एकेडेमिक हेड शशी केसीलाई मनास्लु विशेष सम्मान अवार्डबाट सम्मानित गरियो ।

खेलकुद

फुटभलीमा नेपाल विजयी

- कान्तिपुर संवाददाता


काठमाडौं (कास)– भारतको केरलामा भइरहेको २५ औ विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनल पुगेको छ ।
वेस्ट अफ थ्रीको सेटमा भएको खेलमा नेपालले १५–९, १४–१६, १६–१० ले पराजित गर्दै क्वाटरफाइनल तय गरेको हो । ९ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले सेमिफाइनल पुग्न फ्रान्सको सामना गर्नेछ । नेपाली टोली प्रशिक्षक राजुविक्रम थापाको प्रशिक्षणमा रहेको छ ।