(काठमाडौं) नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन गरिएको अपराधका आरोपित पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार उनले बिरामी परेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । तर, उनी भागेको १२ औं दिनमा राजधानीको बुढानीलकण्ठस्थित एक मित्रको घरबाट पक्राउ परेका छन् । अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँछु भनेका रायमाझी त्यही राति बाटोबाटै गायब भएका थिए । छोरा सन्दीप भने त्यही साँझ बुटवलबाट पक्राउ परेका थिए । काठमाडौंको सट्टा उनी पोखरा पुगेको प्रहरीका एक अधिकारीको भनाइ छ । ‘पोखरामा गोप्य बासस्थानको प्रबन्ध मिलाएका उनका एक हितैषी दक्षिण सीमापार भागेका थिए । ती व्यक्ति उतै निगरानीमा परेपछि रायमाझी लुकेको ठाउँको पहिचान खुलेको थियो,’ ती अधिकारी भन्छन्, ‘तर, प्रहरी टोली शनिबार पोखरा पुग्दा रायमाझी त्यहाँबाट हिँडिसकेको पत्ता लाग्यो । उनी निगरानीमा रहेकाले आइतबार पासीकोटस्थित एक घरमा छापा हानेर पक्राउ गर्न सम्भव भएको हो ।’ रायमाझीलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ, सोमबार अदालतमा उपस्थित गराउने तयारी छ । नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी राजनीतिक पृष्ठभूमिका हिसाबले सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । अखिल छैटौंबाट राजनीति सुरु गरेका उनी चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका थिए । २०४८ मा संयुक्त जनमोर्चाबाट अर्घाखाँची–१ मा उम्मेदवारी दिएका उनी २०५२ बाट माओवादी सशस्त्र द्वन्द्वमा लागेका थिए, २०५४ मा माओवादी पोलिटब्युरो सदस्य बने । भूमिगतकालमा भारत प्रवास कमिटीको दुई पटक इन्चार्ज भएका उनी सशस्त्र युद्ध उत्कर्षमा पुगेका बेला २०६१/६२ मा पश्चिम कमान्ड इन्चार्ज भए । उनको निर्देशनमा सन्धिखर्क, बेनीलगायत आक्रमण भएका थिए । नेकपा विघटनसँगै पछिल्लो पटक पूर्वपार्टी माओवादी छाडेर एमालेतिर लागेका उनी दसौं महाधिवेशनबाट सचिव बनेका हुन् । अर्घाखाँचीबाट लगातार चार पटक निर्वाचित भएर ‘लोकप्रिय’ नेताको छवि बनाएका रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक गिरोहको योजनाका मतियारका रूपमा आफ्नो नाम दर्ज गराएका छन् । ठगी र संगठित अपराधका अलावा उनीमाथि प्रहरीले राज्यविरुद्धको अपराधको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । नेपालमा शान्ति प्रक्रिया सुरु भएपछि शक्तिमा आएका रायमाझीका ‘दाहिने हात’ बनेका थिए सानु भण्डारी । उता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पुत्री सुजाताका स्वकीय सचिवका रूपमा केशव दुलालले दायरा फराकिलो बनाएका थिए । आफ्नै र रायमाझीको सम्पर्क सूत्र प्रयोग गर्दै र राज्यशक्तिमा सोझो पहुँच बनाएका केशव–सानुको गिरोहले ठगीका लागि सरकारबाटै नीतिगत निर्णय गराउँदै भुटानी शरणार्थीका नाममा कार्यदल गठन गराएका हुन् ।
दुलाल र भण्डारीलाई शक्तिकेन्द्रको पहुँचमा पुर्याउन र मन्त्रालयबाट निर्णय गराउने काममा रायमाझी सक्रिय रहे । यसक्रममा गिरोहका नाइके केशव दुलालसँग गोसाइँकुण्डको ‘सयर’ गर्न पनि भ्याएका थिए । अझ, आर्थिक कारोबारमा छोरा सन्दीपलाई पनि प्रयोग गरेका थिए । तत्कालीन गृहमन्त्री रामबहादुर थापाले माओवादीका पूर्वसांसदसमेत रहेका इन्द्रजित राईलाई सुरक्षा सल्लाहकार बनाएका थिए । गिरोहकै योजनाअनुसार गृह मन्त्रालयले २०७६ असार २९ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो जसलाई ‘नेपालमा रहेका भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याई विकल्प तथा सुझावहरूसहित प्रतिवेदन पेस गर्ने’ कार्यादेश थियो । वास्तविक शरणार्थीको समस्या समाधान गर्न होइन, नक्कली शरणार्थी खडा गर्ने उद्देश्यले कार्यदल गठन गरिएको थियो । त्यही प्रयोजनका लागि कार्यदलको निर्णय भएको थियो । ‘म त्यसबेला गृह सचिव थिएँ, गृहमन्त्रीज्यू (थापा) ले शरणार्थी समस्या समाधान कार्यदलमा नियुक्त गर्न भन्दै ३ जनाको नाम दिनुभएको थियो,’ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख रहेका प्रेमकुमार राईले कान्तिपुरसँग यसअघि नै भनेका छन्, ‘त्यसमध्ये गणेश केसी भन्ने व्यक्ति को थियो, मलाई थाहै थिएन ।’ कार्यदलको संयोजकमा गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाइसकेका बालकृष्ण पन्थी थिए । हाल ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष रहेका केसीलाई विज्ञका रूपमा सदस्य बनाइएको थियो । त्यस्तै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए । ललितपुरका केसी कसरी शरणार्थी समस्या समाधानसम्बन्धी विज्ञ भए ? उनी आफैंले कान्तिपुरसँग भने, ‘ललितपुर, हात्तीवनमा मेरो छिमेकी हुन् सानु भण्डारी । उनैले गृहमा एउटा कार्यदल बन्दै छ, त्यसमा तपाईंले सदस्य राखिनेछ, अवसर हो, काम गर्नुहोला भनेका थिए । उनले भनेजस्तै मैले असार ३०, २०७६ मा पत्र पाएँ ।’ सरकारी कार्यदल र गिरोहले एकापसमै मिलेर काम गरेका थिए । केसीको भनाइमा पनि भण्डारीमार्फत दुलालसँग भेट भएको र एक पटक भण्डारीको हात्तीवन निवासमा खानपिनको कार्यक्रम हुँदा त्यहाँ नेता रायमाझीसँग पनि छलफल भएको थियो । उनीहरूको समेत उत्साहमा काम गर्दै जाँदा गृहमा इन्द्रजित राईसँग पनि सहकार्य भएको उनको भनाइ छ । नेपालमा रहेका भुटानी शरणार्थीको व्यवस्थापन तथा ‘दर्ता छुट’ को लगत संकलन गर्न सरकारले अघि बनाएको कार्यदलको प्रतिवेदनमा चलखेल गरेर गिरोहले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान योजना बनाएको थियो । यसैका लागि ५० लाख रुपैयाँसम्म असुलेर ८७५ जनाको नक्कली सूची थपिएको थियो । काम फत्ते नहुँदै २०७८ असार २९ मा ओली सरकार विस्थापित भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्री र सचिवमार्फत पनि रायमाझीले धन्दा अघि बढाएका थिए । तर नेपाली नागरिकलाई राज्यस्तरबाटै अनागरिक बनाएर अमेरिका पठाउने भनिएको काम हुन नसक्ने भएपछि उनीहरूको पोल खुलेको हो । यही क्रममा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र बहालवाला सचिवसहितका ‘उच्च पदस्थ’ पक्राउ परेका हुन् । गत चैत १२ मा गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए । त्यसयता तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना हिरासतमा परिसकेका छन् । आइतबार मात्रै प्रहरीले तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अरू केही व्यक्तिविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिए पनि फरार रहेको प्रहरीका एक अधिकारीले बताए । उनीहरूको खोजी भइरहेको ती अधिकारीले बताए । अहिलेसम्म यो प्रकरणमा १ सय ६ जनाका तर्फबाट करिब २४ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी परेका छन् । अनुसन्धान प्रतिवेदन अर्को साता सरकारी वकिल कार्यालयमा पेस गर्ने प्रहरी तयारी छ । यो प्रकरणमा ठगी र संगठित अपराधको अलावा राज्यविरुद्धको अपराध, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, किर्ते, प्रमाण नष्टलगायतका कम्तीमा आधा दर्जन कसुरमा आरोपितमाथि अनुसन्धान जारी छ । थापाका छोरा प्रतीक र कांग्रेस पूर्वसांसद आङटावा शेर्पाविरुद्ध आइतबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । स्रोतका अनुसार कांग्रेस नेता शेर्पाले प्रहरी हिरासतमा रहेका आरोपितलाई भेटेर पूर्वगृहमन्त्री खाणको नाम नपोल्न ‘दबाब’ र ‘प्रलोभन’ दिएका थिए । त्यसपछि निगरानीमा परेका शेर्पा सार्वजनिक रूपमा देखिएका थिएनन् । शरणार्थी प्रकरणमा नाम जोडेर समाचार आउन थालेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत संलग्नता इन्कार गरेका थापाका छोरा प्रतीक अहिले कहाँ छन् भन्ने अत्तोपत्तो छैन ।
कांग्रेस सांसदको खण्डन कांग्रेस संस्थापन पक्षकी सांसद कान्तिका सेजुवालले सभापति शेरबहादुर देउवालाई भेटे पनि कुनै दबाब वा चेतावनी नदिएको बताएकी छन् । खाणलाई मात्र फसाएर आरजु राणालाई बचाउन खोजिएकामा आपत्ति जनाउँदै सांसद टोलीले चेतावनी दिएको समाचार कान्तिपुरमा आइतबार प्रकाशित भएको थियो । ‘हामीले नियमित भेटघाट गरेका हौं, आधारहीन विषय समाचारमा आएकामा आश्चर्यचकित छौं,’ उनले भनेकी छन् ।
जो हिरासतमा छन् -टोपबहादुर रायमाझी (पूर्वउपप्रधानमन्त्री) -बालकृष्ण खाण (पूर्वगृहमन्त्री) -टेकनारायण पाण्डे (सरकारका सचिव) -इन्द्रजित राई (तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार) -नरेन्द्र केसी (तत्कालीन गृहमन्त्री खाणका प्रमुख स्वकीय सचिव) -सन्दीप रायमाझी (रायमाझीका छोरा) -केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर थुलुङ राई, टंक गुरुङ, रामशरण केसी, गोविन्द चौधरी (गिरोहका सदस्यहरू) जो फरार छन् -प्रतीक थापा (तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा) -नीरज राई (तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा) -आङटावा शेर्पा (कांग्रेसका पूर्वसांसद)
मुख्य पृष्ठ
१४ महिनामा नतिजा, ५ सय मार्कसिटमा त्रुटि
- सुदीप कैनी
(काठमाडौँ) त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १४ महिना लगाएर सार्वजनिक गरेको स्नातक तह पहिलो वर्षको नतिजामा त्रुटि आएपछि रत्नराज्यलक्ष्मी क्याम्पसका ५ सयभन्दा बढी विद्यार्थी आन्दोलित छन् । २०७८ फागुनमा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका आरआरका अधिकांश विद्यार्थीको मार्कसिटमा ‘अनुपस्थित’ जनाइएको छ । १०० पूर्णांकको अंग्रेजी विषयमा ७० अङ्कको बाह्य र ३० अङ्कको आन्तरिक परीक्षा सञ्चालन भएको थियो । बाह्यतर्फको परीक्षा त्रिविले सञ्चालन गर्छ भने आन्तरिकतर्फ कक्षा उपस्थिति, कक्षा कार्यलगायत शीर्षकमा विषय शिक्षकले अंक दिने व्यवस्था छ । ‘म हरेक दिन क्याम्पस जान्छु, कक्षा लिन्छु, बाह्य परीक्षामा राम्रो अंक आएको छ तर आन्तरिकमा अनुपस्थित देखाइएकाले फेल भएँ,’ एक छात्राले भनिन्, ‘क्याम्पसको लापरबाहीले यस्तो भयो ।’ मार्कसिटमा त्रुटि भएपछि विभिन्न छात्रवृत्तिमा आवेदन दिन पाउने अवसरबाट विद्यार्थी वञ्चित हुने भएका छन् । ‘पहिले समयमा रिजल्ट भएन, १४ महिना कुरेपछि रिजल्ट आउँदा अनुपस्थित जनाएर आयो,’ ती छात्राले कान्तिपुरसँग भनिन्, ‘त्रिवि र आरआर क्याम्पसको सिस्टमले गर्दा हाम्रो भविष्यमाथि खेलबाड भयो । दुई दिनमा नतिजा सच्याउँछौं भनेका थिए, २०/२१ दिन भइसक्यो केही भएको छैन ।’ कार्यालयले वैशाख दोस्रो साता नतिजा सार्वजनिक गरेको थियो । आन्तरिक परीक्षामा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको अंक गडबड भएर नतिजा सार्वजनिक भएको विषय शिक्षकहरूले पनि बताएका छन् । करिब १८ सय जनामा ९० प्रतिशतको नतिजा त्रुटि भएको दाबी विद्यार्थीले गरेका छन् । अंग्रेजी विषयका अध्यापक लोकनाथ कोइरालाले करिब ५० प्रतिशत विद्यार्थीको नतिजा बिग्रिएको हुन सक्ने अनुमान गरे । अन्य विषयको नतिजामा पनि चित्त नबुझेर २०७७ को उक्त ब्याचका धेरै विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका छन् । धेरैको नतिजामा त्रुटि भेटिएपछि परीक्षार्थी संगम राईको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरिएको छ । विद्यार्थीले नतिजा बिगारिदिएकामा व्यंग्य गर्दै क्याम्पस प्रमुख जीवनधर ज्ञवालीलाई फूलमाला लगाइदिएको राईले बताए । ‘विषय शिक्षकले मलाई आन्तरिक परीक्षामा २५ नम्बर दिएको छु भन्नुभएको छ, १३ नम्बरभन्दा थोरै कसैलाई दिएको छैन भनिएको छ तर मार्कसिटमा १२ मात्र आएको छ,’ उनले भने, ‘धेरै साथीको मार्कसिटमा अनुपस्थित छ ।’ क्याम्पस प्रशासनले परीक्षा नियन्त्रण कार्यालयमा गलत अंक पठाएका कारण त्रुटि भएको उनले जनाए । ‘बाह्य परीक्षामा ७० पूर्णाङ्कमा ५८ ल्याउने विद्यार्थीको आन्तरिकमा १४ मात्र आएको छ,’ एक अध्यापकले भने, ‘कहिल्यै कक्षामा नआउने तर बाह्य परीक्षामा २० नम्बर ल्याएका विद्यार्थीको आन्तरिकमा २५ अंक पनि आएको छ ।’ क्याम्पसको परीक्षा शाखाका कर्मचारीले लापरबाही गरेका कारण अस्वाभाविक अंक दिने र अनुपस्थित गराउने काम भएको उनले जनाए । ५० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा आफूले दिएको नम्बरभन्दा फरक आएको शिक्षकहरूको भनाइ छ ।
कोइरालाले भने, ‘हामीले परीक्षा सञ्चालन गरेर परीक्षामा शाखामा नम्बर बुझाएका थियौं । इन्ट्रीमा प्रशासनिक त्रुटि भयो होला ।’ त्यतिबेला परीक्षा शाखा प्रमुखमा देवीप्रसाद घिमिरे थिए । उनको लापरबाहीले त्रुटि भएको विद्यार्थीको आरोप छ । परीक्षा शाखामा विषय शिक्षकले बुझाएको नम्बर लिस्टसमेत नभेटिएको क्याम्पस स्रोतले जनाएको छ । विद्यार्थीको नतिजा बिग्रेपछि क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयमा प्रतिनिधिसमेत पठाएको थियो । ‘परीक्षा नियन्त्रण कार्यालयले नम्बर घटीबढी भएको सच्याउन मिल्दैन, अनुपस्थिति भएका विद्यार्थीलाई चाँहि अर्को पटक नम्बर दिन मिल्छ भनेको छ,’ कोइरालाले भने । क्याम्पस प्रमुख ज्ञवालीले भने त्रुटिको ढाकछोप गरे । ‘१८ सय/२ हजार विद्यार्थीमा २/४ जनाको त्रुटि हुनु सामान्य हो । परीक्षा नियन्त्रण कार्यालयसँग कुरा भएको छ, मर्कामा परेका विद्यार्थीको सुधार हुन्छ,’ उनले भने । धेरै विद्यार्थी कक्षामा उपस्थित नहुने कारण पनि समस्या भएको उनको दाबी छ । विद्यार्थीले भने सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । त्यसका लागि शिक्षकले बुझाएको अंक सार्वजनिक गर्न आग्रह गरिएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले क्याम्पसले पठाएकै तथ्यांकमा त्रुटि रहेकाले समस्या भएको दाबी गरेका छन् । ‘हामीले अंक थपघट गर्न मिल्दैन, विद्यार्थी मर्कामा पर्नु हुँदैन, त्यस्तो रहेछ भने सुधार हुन्छ,’ उनले भने ।
मुख्य पृष्ठ
केटाकेटीको वन प्रस्थान
- रमेशकुमार पौडेल
(चितवन) सानै उमेरमा माउसँग बिछोडिएका गैंडाका दुई बच्चा (केटाकेटी) मानिसको रेखदेखमा हुर्किए । पुष्पा र अञ्जली नाम पाएका उनीहरू आइतबार फेरि वनमै फर्केका छन् । एक महिनाको पुष्पा र दुई महिनाको अञ्जलीलाई चितवन राष्ट्रिय निकुञ्जले उद्धार गरेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा राखेर हेरालुले हुर्काएका थिए । ठूलो हुँदै गएपछि हिँड्दै–डुल्दै गाउँसम्म पुगेर नोक्सान गर्ने र मानिसलाई आक्रमण गर्न सक्ने जोखिम बढेको थियो । सानो हुँदा सौराहा पुग्दा धेरैको आकर्षण बनेका थिए । दर्शकले पालो पर्खेर यी चुलबुले बच्चा गैंडासँग फोटो खिचाउँथे । ‘ठूलो हुँदै गएको गैंडा र मानिस नजिक हुनु खतरा हो, त्यसैले प्राकृतिक बासस्थलमै छाडेका हौं,’ निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने । ती बच्चा गैंडालाई सौराहाबाट ट्रक चढाएर निकुञ्ज मुख्यालय कसरानजिक लामिताल पुर्याएर छाडिएको हो ।
नजिकको वन क्षेत्रमा छाड्दा नियमित अनुगमन तथा हेरचाह पनि हुने निकुञ्जलाई लागेको छ । अब गैंडाका यी बच्चाका जीवनको तेस्रो यात्रा सुरु भएको छ । निकुञ्जको टोलीले पुष्पालाई २०७६ पुस ५ मा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०७७ चैत २३ मा नवलपरासीकै कुजौली क्षेत्रबाट उद्धार गरेको थियो । हुर्केर ३ वर्ष र २ वर्षको भएका यिनीहरू चञ्चल र केही आक्रामक देखिन थालेका थिए । थप आक्रामक हुनुअघि प्राकृतिक बासस्थलमा छाडेको तिवारीले बताए । जन्मेको कम समयमै माउबाट बिछोडिएर मानिसको संगतमा पुगेका यी बच्चाको प्राकृतिक बासस्थल यात्रा सुरु भएको छ । माउबाट छुटेका यस्ता बच्चा वन्यजन्तु उद्धार गरेर हुर्केपछि के गर्ने भन्ने समस्या पनि छ । यसअघि उद्धार गरेर हुर्काइएका गैंडाका बच्चा चिडियाखाना लगेर राख्ने या विदेशमा उपहारसमेत दिने गरिएको थियो । प्राकृतिक बासस्थलमा फर्काउनु सुखद भएको पशु कल्याणको क्षेत्रमा क्रियाशील अभियानकर्मी सुराजन श्रेष्ठले बताए । ‘उनीहरू यहाँ पनि घाँस चर्दै हुर्केका हुन् । चिडियाखानामा राख्दा राम्रो स्याहार नपाउन पनि सक्थे । अहिले वनमै छाडिएछ । अन्यत्रभन्दा वनमै लगेर छाडेको राम्रो हो,’ उनले भने ।
म्यागेजिन
कसले खाइदियो फूलमायाको १५ वर्षको कमाइ ?
- होम कार्की
(काठमाडौं) काभ्रेकी सपना तामाङ लेबनान पुगेको चार महिनापछि काइँली बहिनी फूलमाया पनि आइपुगेकी थिइन् । यो २००८ मार्चतिरको समय थियो । त्यतिखेर घरेलु कामदार (हाउसमेड) को काम गर्न वैदेशिक रोजगार विभागबाटै श्रमस्वीकृति पाइन्थ्यो । काभ्रेदेखि सिन्धुपाल्चोक र रसुवाबाट लेबनान जाने महिलाहरूको लहर नै चलेको थियो । सपना र फूलमायालाई म्यानपावरसम्म लैजाने काम गाउँले दिदी शर्मिला तामाङले गरेकी थिइन् । काठमाडौंको गलैंचा उद्योग धराशायी भएपछि उनीहरूका लागि लेबनान विकल्प बन्दै थियो । सपना लेबनानमा छिरेको चार वर्षपछि फर्केर आइन् । त्यसपछि इराकको बगदाद पुगिन् । बगदादमा दुई वर्ष काम गरेर फर्किइन् । हरेक महिना तलब थाप्ने बानीले बगदादमा एक महिना मात्रै तलब रोकिँदा सपनालाई उकुसमुकुस हुन्थ्यो । बिनाआम्दानी अडिन उनलाई मन लागेन । घरेलु कामदारको सट्टा कम्पनीको भिसा बोकेर मलेसिया उडिन् । मलेसिया चार वर्ष बसेपछि कुवेत पुगेर अडिएकी छन् । सात वर्षदेखि कुवेतको सरकारी अस्पताल फर्वानियामा कार्यरत सपना स्वदेश नफिरेको भने चार वर्ष भयो । ‘हामी पाँच दिदीबहिनीमध्ये म माइली हुँ । फूलमाया काइँली । हामी दुई जनामात्रै विदेश हिँड्यौं । अरू बिहेबारी गरी देशमै बसेका छन्,’ कुवेतबाट सम्पर्कमा आएकी सपनाले भनिन्, ‘म संसार घुमिसकें । बहिनी भने अझै लेबनानमै अल्झिरहेकी छे ।’ उनलाई लेबनानमा दुई दिन बिताउन पनि दुई वर्ष जस्तो भएको सुनाइन् । ‘बाहिर घुमफिर थिएन । एक दिन पनि नेपाली भेटिने दौउरा चोक जान दिइएन । दिदीबहिनी लेबनानमा छौं भन्नुमात्रै रह्यो,’ दिदीबहिनीबीच कहिल्यै भेटघाट र बोलचाल हुन नपाएको उल्लेख गर्दै सपनाले भनिन्, ‘म निस्केको १५ वर्ष भयो, फूलमाया उतै छे । आमाले फूलमाया खै भनेर नसोधेको दिन छैन ।’ लेबनानमा पुग्दा फूलमाया १९ वर्षमा टेक्दै थिइन् । उनको रोजगारदाता (मालिक) कोहरिक रोसेआन आरमेनियाली समुदायका थिए । यो घरमा टेकेदेखि उनलाई सबैले माया भनेर बोलाउँथे । फूलमायालाई परदेशमा होइन कि आफ्नै बुबाआमाको घर पुगेजस्तै लाग्यो । परिवारसँग घुलमिल बढ्दै गयो । उनीहरूको मायामा आफ्नो घरठेगाना परिवारमात्रै होइन भाषा पनि भुल्दै गइन् । ‘उनीहरू अंग्रेजी बोल्दैनथे । अर्मनी भाषा बोल्थे । मैले बिस्तारै अर्मनी सिक्दै गएँ । नयाँ नयाँ आर्मेनी सिक्दा मैले तामाङले बोल्ने शब्दहरू बिर्सिंदै गए । घरमा नेपाली भाषा पहिला पनि त्यति धेरै बोल्दैनथ्यौं,’ फूलमायाले भनिन्, ‘जुन भाषा बढी बोलिन्छ, त्यसमै बानी पर्दोरहेछ ।’ उनले आफ्नो मालिक–मालिक्नीभन्दा अरूसँग कहिल्यै बोल्नुपरेन । छुट्टी लिएर नेपालीमाझ कहिल्यै पुगिनन् । चिनजानेको कोही साथी सम्पर्कमा थिएनन् । दिदी पनि कहाँ छ थाहा भएन । घरबाट निस्कनुपरेमा पनि मालिकसँगै जान्थे । ‘मलाई कहिले झर्किने, गाली गर्ने काम गरेनन्,’ फूलमायाले भनिन्, ‘घर (नेपाल) मा त आक्कलझुक्कल मात्रै बोलिन्थ्यो ।’ अरूले कामदारले जस्तो पैसा पठाउन रेमिटेन्स कम्पनीमा पनि गइनन् । मालिकले नै नेपाल पैसा पठाइदिएँ भन्थे । प्रमाणका रूपमा पैसा पठाइदिएको रसिद ल्याएर फूलमायालाई दिन्थे । त्यतिखेरै मालिकले बुबालाई फोन लगाइदिन्थे । यो समयमा फूलमायाले छोटोमा भन्ने गर्थिन्, ‘मलाई यहाँ ठीक छ । पैसा पठाइदिएको छ । ल नम्बर टिप्नुस् ।’ त्यसपछि तीन वाक्यको कुराकानी झन्डै वर्ष दिनसम्मका लागि टुंगिथ्यो । फूलमाया लेबनान पुगेको दुई वर्षपछि २०१० अक्टोबर ३० तारिखको दिन ६ सय १० डलर पठाउँदा पहिलो वाक्य फुटेको थियो । दोस्रो गफ २०११ मार्च १५ तारिख ६ सय १० डलर पठाउँदा भयो । त्यसपछि २०१२ को मे २२ तारिख १ हजार १० डलर र २०१३ मार्च २२ तारिख पनि १ हजार १० डलर पठाउँदा भयो । २०१४ अप्रिल २८ तारिख १५ सय ६६ डलर पठाउँदा सम्पर्क भयो । ७ वर्षको अवधिमा ४ हजार ८ सय ७ डलर पठाइयो । फूलमायालाई त्यो बेला रसिदमा कति डलर पठायो भन्ने थाहा हुँदैनथ्यो । खाली रसिदको नम्बर हेरेर बुबालाई भन्दिन्थिन् । वर्ष दिनमा एक पटक मोबाइलमा बज्ने घण्टी त्यसपछि बज्न छोड्यो । त्यसपछि बुबा भैरवबहादुर र आमा तिलमायासँगको सम्पर्क पनि टुट्यो । लेबनानबाट फोन आउन छोड्यो । फूलमायालाई मालिकले भूकम्पपछि नेपाल ध्वस्त भएको सूचना दिए । टीभीमा भत्केका घरहरू देखाइदिए । फूलमायालाई मनमा चिसो पस्यो, ‘कतै भूकम्पले परिवार कसैलाई बाँकी राखेन कि ?’ यता नेपालमा भने बुबाआमालाई छोरीसँग सम्पर्क नहुँदा बेचैन बनाइरहन्थ्यो । ‘माइली छोरी सपना भने विदेशबाट आउजाउ गरिराख्छिन् । कति देश पुगिसकी । फूलमायाको अनुहार नदेखेको १५ वर्ष भयो । कस्ती भई होली ? केही थाहा छैन,’ बुबा भैरवबहादुर भन्छन्, ‘उसलाई पत्ता लगाइदिनुपर्यो । सधैं बाहिरमात्रै बसेर हुँदैन । मन पोल्छ । कहाँ गएर भन्ने थाहा छैन । छोरीमध्ये देशविदेश बुझेकी सपना मात्रै थिइन् । उनी पनि कुवेततिर रोकिइन् ।’ गत डिसेम्बर १५ तिर फूलमायाका दाजु उमेश र बुबा भैरवबहादुरको लेबनानमा घरेलु कामदारको अधिकारको पक्षमा काम गरिरहेका ‘दिस इज द लेबनान’ का संस्थापक दीपेन्द्र उप्रेतीको सम्पर्कमा पुगे । यो समूहले लेबनानमा कार्यरत घरेलु कामदारमाथि भएको अमानवीय शोषणको पर्दाफास गरी न्याय दिलाउन सक्रिय छ । लेबनानमा झन्डै चार लाख हाउसमेड अफ्रिका र एसियाबाट गएका छन् । सन् २००८/०९ तिर नेपाली घरेलु कामदारको संख्या झन्डै १२ हजार थियो । अहिले न्यून सख्यामा कार्यरत छन् । अध्ययनहरूले अन्तर्राष्ट्रिय र स्थानीय कानुनविपरीत लेबनानमा ९४ प्रतिशत रोजगारदाताले घरेलु कामदारको राहदानी आफैंले राखिदिने गरेका छन् । भैरवले लेबनानबाट आइराख्ने फोन नम्बर सुरक्षित राखेका रहेछन् । त्यो नम्बर र फूलमायाको नागरिकता र राहदानीको फोटोकपी उप्रेतीलाई उपलब्ध गराए । दिस इज द लेबनानका स्वयंसेवीले फोन नम्बरको आधारमा मालिक कोहरिक केशुनकाको ठेगाना पत्ता लगायो । मालिकको सबै पृष्ठभूमि पत्ता लगाए । कोहरिकका भाइ गार्भेलसँग दिस इज द लेबनानका स्वयंसेवीसँग सम्पर्क भयो । ‘उनी घर फर्कनै चाहँदिनन् । यहीं नै बस्न चाहन्छिन् । माया खुसीसाथ बसिरहेको छ,’ गार्भेलको दाबी थियो । गार्भेलको दाबीलाई बाबु भैरव र आमा तिलमायाले अस्वीकार गरे । उनीहरूले फूलमायासँग संवाद गराइदिन अनुरोध गरे । गार्भेललाई भैरव र तिलमायाको फोटो र भिडियो पनि पठाइयो । त्यो हेरेपछि परिवारसँग संवाद गराइदिन केशुनका परिवार तयार भयो । झन्डै ९ वर्षपछि फूलमायाको बुबाआमा र दाजु उमेशसँग संवाद गर्न पाइन् । फूलमायाले टुटेफुटेको नेपाली बोलिन् । बढीजसो अर्बनी लवज निस्किरहेको थियो । बुबाआमासँग संवाद गर्न पनि अनुवादक चहिने परिस्थिति बन्यो । ‘मैले त बुबाआमा छ भन्ने नै बिर्सिएछु । आउँदा फोटो पनि ल्याइन् । नेपाल आउने राहदानी पनि छैन,’ फूलमायाले भनिन् । दिस इज द लेबनानले फूलमायालाई मोबाइल उपलब्ध गराउन दबाब दिन थाल्यो । ‘अहिलेको समयमा घरेलु कामदारलाई फोन दिँदैन भन्ने हुँदैन । त्यो घरेलु कामदारको अधिकार हो,’ दिस इज द लेबनानले गार्भेललाई घरेलु कामदारको अधिकारसम्बन्धी पाठ पढाएपछि गत जनवरीमा फूलमायाको हातमा मोबाइल पर्यो । त्यसयता भने कुवेतमा रहेकी दिदी सपना र दाजु उमेशसँग भने नियमित संवाद हुन सक्यो । सपनासँग नियमित कुराकानी हुन थालेपछि भने बल्ल फूलमायाले आफ्नो भाषाको लय समातेकी छन् । परिवारसँग सम्पर्क भएपछि रोजगारदातालाई १५ वर्षको पूरा हिसाब गरी नेपाल पठाइदिन दबाब छ । गत १८ जनवरी, ३ फेब्रुअरी र २३ फेब्रुअरीमा तीन पटक २४ सय १८ डलरको दरले ७ हजार २ सय २५ डलर (झन्डै ९ लाख ४६ हजार रुपैयाँ) पठाइदिएको छ । १५ वर्षको अवधिमा फूलमायाले १२ हजार ३२ डलर मात्रै पाएको रेकर्ड देखिन्छ । घर फर्काउन दबाब पुगेपछि रोजगारदाताले ९ मेमा फूलमायालाई बेरुतस्थित अवैतनिक नेपाली महावाणिज्य दूतको कार्यालयमा पुर्याएको थियो । त्यहाँ २००८ देखि ०२३ सम्म काम गर्दा सबै तलब पाइसकेको र २० मेमा नेपाल पठाउने भन्ने कागजमा फूलमाया र रोजगारदाताबीच हस्ताक्षर गराइएको थियो । नेपाल जानुअघि भने २ हजार ४ सय डलर दिइने पनि सहमतिमा उल्लेख छ । ‘मलाई के कागजमा हस्ताक्षर गराइयो भन्ने थाहा छैन,’ फूलमायाले भनिन्, ‘मैले पाउनुपर्ने सबै पैसा पाए वा नपाएको थाहा छैन ।’ लेबनानका लागि अवैतनिक महावाणिज्य दूत एलचेख मोहम्मद विसम गौजेलले फूलमाया प्रतिमहिना एक सय डलर तलबमा काम गर्न गएको देखिएको बताए । ‘एक सय डलर लिने गरी काम गर्न आएको देखिएको छ । यो तलब हरेक वर्ष बढ्दै गएको छ । जस अनुसार १ सय २५, १ सय ५० र दुई सय डलरसम्म आइपुगेको देखिन्छ,’ गौजेलले भने, ‘हामीले यो विषयलाई निकै गम्भीरताका साथ लिएर अनुसन्धान गरेका छौं । भाषा अनुवादक राखेर पनि छलफल गर्यौं । यसबारे थप अनुसन्धानका लागि इजिप्टस्थित नेपाली दूतावासमा पठाएका छौं ।’ दिस इज लेबनानका संस्थापक उप्रेतीले लेबनानको घरेलु कामदारसम्बन्धी कानुनको दफा ६ बमोजिम गुणस्तरीय संयुक्त करारपत्र बमोजिम फूलमायाले तलब पाएकी छैनन् । ‘फूलमायाले भीख मागेको होइन । काम गरेको पैसा मागेको हो । उनलाई पैसा दिएको प्रमाण बुझाउने दायित्व मालिकको हो फूलमायाको होइन,’ उप्रेतीले भने, ‘उनीबाट धेरै पैसा जोगाएको छ । दुई–दुई वर्षमा घर जानेआउने टिकट दिनुपर्छ । त्यसबापत ७ वटा टिकटको पैसा दिनुपर्छ । एक सय डलर त तलब नै हुँदैन । लेबनानको नियमअनुसार कम्तीमा १ सय ५० डलर तलब दिनुपर्छ । झन् अनुभवीले चार सय डलरसम्म पाउँछन् । यहीअनुसार फूलमायाको तलब भुक्तानी गराइनुपर्छ । पारदर्शी ढंगले लेबनानको सुरक्षा अनुसन्धान विभागबाट अनुसन्धान गरिनुपर्छ ।’ त्यही समयमा गएकी सपनाको पनि न्यूनतम तलब १ सय ५० लेबनिज डलर थियो । यतिका वर्षसम्म काम गर्दा फूलमायाले आफ्नो तलबबारे कहिले पनि खोजी गरिनन् । अब छुट्ने बेला भने बल्ल आफूमाथि श्रम शोषण भइरहेको चाल पाएकी छन् । यसबारे मालिकसँग खुलेर बल्न सकिरहेकी छैनन् । भैरवलाई पनि मालिकले छोरीको सिधापनको फाइदा उठाएको लाग्छ । ‘१५ वर्षपछि छोरी भेटिने खबरले मन गद्गद् छ । मुटुबाट खिल निस्केला जस्तो लागिराख्छ । छोरीको कमाइ पो खाइदिन्छन् जस्तो लगिरहेको छ,’ भैरवले भने, ‘फूलमायालाई मर्कामा पारियो । १५ वर्षको तलब बेहिसाब छ ।’
म्यागेजिन
छावाको न्वारन
- शंकर आचार्य
(पर्सा) पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुर रमौली पोस्टमा शुक्रबार बिहानैदेखि चहलपहल थियो । एकाबिहानै पुरोहित पनि आए । निकुञ्जको हात्तीसारमा वैशाख १८ मा जन्मिएको छावा १२ दिनको पुगेपछि धार्मिक परम्पराअनुसार नामकरण संस्कार गरिएको छ । पुरोहितले छावाको नाम ‘महेशगज’ जुराएका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत सूर्य खड्काले सोमबारका दिन जन्मिएकाले छावाको न्वारनको नाम ‘महेशगज’ राखिएको बताए । ‘पुरोहितले बारसँग मिल्दो शिवजीको अर्को नाम महेशबाट छावाको नामकरण गरेका हुन्,’ उनले भने, ‘चिना, पात्रो तिथिमितिअनुसार विधिपूर्वक न्वारन गरिएको हो ।’ हिन्दु धर्ममा बच्चा जन्मिएपछि गरिने न्वारनको विधिअनुसार निकुञ्जका हात्तीसार वा घरपालुवाको छावाको नामकरण गर्ने परम्परा छ । तत्काललाई महेशगज नामकरण गरिए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अर्को नाम तोकेर पठाएपछि यो छावाको नयाँ नाम राखिने उनले बताए । ‘महेशगज न्वारनको नाम हो बोलाइने नाम विभागले तोकेर केही दिनपछि पठाउनेछ,’ उनले भने, ‘पहिले राजदरबारबाट हात्तीसारका हात्तीको नाम तोकेर आउने परम्परा थियो ।’ महेशगजलाई ढोई चित्रसेनकलीले जन्म दिएकी हुन् । उनको यो दोस्रो सन्तान हो । २०६२ सालमा हात्ती प्रजनन केन्द्र खोरसोर चितवनमा जन्मिएकी चित्रसेनकलीलाई २०७० मा पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्ज हात्तीसारमा ल्याइएको थियो । चित्रसेनकलीले २०७४ माघ १३ मा पहिलो सन्तानका रूपमा भीमाकलीलाई जन्माएकी थिइन् । सामान्यतया हात्तीको गर्भ अवधि २२ देखि २४ महिनाको हुन्छ । एउटा ढोईले जीवनकालमा ६ वटासम्म छावा जन्माउँछन् । ढोई गर्भिणी भएको फाँचो र ज्यान ठूलो हुँदै गएपछि यकिन हुन्छ । प्रतापपुर रमौली पोस्टमै रहँदा चित्रसेनकलीको एक जंगली मत्तासँग संसर्ग भएपछि उनी गर्भिणी भएकी थिइन् । निकुञ्जका ढोई प्रायः जंगली मत्तासँगको संसर्गबाट गर्भिणी हुन्छन् । चितवन निकुञ्जको खोरसोरमा पनि प्रायः यसै हुने गरेको खड्का बताउँछन् । हात्तीमै विद्यावारिधि गरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम निकुञ्जमा एउटा हात्ती थपिनु संसारभरिकै संरक्षणकर्मीका लागि खुसीको कुरा भएको बताउँछन् । अमलेखगन्जमा नौ हात्तीको दरबन्दी छ । यो छावासहित यहाँ हात्तीको संख्या १३ पुगेको छ । नारायणगज र महेशगज गरी अब मत्ता हात्ती २ र ढोई ११ वटा छन् । हात्तीसारमा दरबन्दी रहेका हात्तीमध्ये आधा दर्जन अमलेखगन्जमा र बाँकी अन्य पोस्टमा राखिएको छ । निकुञ्ज गस्ती तथा पर्यटकलाई जंगल सफारी गराउने प्रयोजनले निकुञ्जमा हात्ती राख्ने गरिन्छ । प्रत्येक हात्तीलाई माहुते, पछुवा र फनैत गरी ३/३ कर्मचारीको दरबन्दी हुन्छ । जंगली हात्तीको गणना नभए पनि पर्सा निकुञ्जमा हाल विभिन्न समूहमा गरी ६० देखि ६५ वटासम्म जंगली हात्ती रहेको अनुमान गरिएको छ ।
युवा ग्यालरी
हल्काराको यात्रा
- अनिश भट्टराई
(गण्डकी) कलाकार बन्ने सपना बोकेर काठमाडौं लागेका थिए, पोखरा कास्कीकोटका महेश त्रिपाठी । आफ्नो सपनासँगै गाउँ छाडेका महेश अढाई दशकपछि फर्कंदा भने परिचय फेरिएको छ । खासमा पछिल्लो समय उनको परिचय बनेको छ, ‘हल्कारा’ । कारण, फिल्मको ‘हल्कारा’को सफलता र चर्चा । यो १५ वर्षलाई महेश ‘वनबास’ मान्छन् । अभिनेता बनेर पोखरा आउनासाथ उनी ‘फ्ल्यासब्याक’ मा गए । उनले देखाएको फ्ल्यासब्याकको पहिलो ‘सिन’ मा उनले पोखरा छाड्दै थिए । भर्खर दुई दशक पार गरेको ठिटोले सपनाको समुद्रमा डुबुल्की मार्न बस चढ्दै थियो । साथमा न कोही थियो, न केही । काठमाडौं गएपछि अभिनयमा साथ दिने र सहयोग गर्ने पनि कोही चिनेका थिएनन् । एकखाले ‘सस्पेन्स’ कै कथामा उनी काठमाडौंको यात्रामा थिए । पोखरा छाड्दा उनीसँग एउटा झोला थियो, लत्ताकपडा र केही दिनको खानासँगै आशा, सपना, भोक, व्यग्रता, संघर्षको । परिवारले महेशमा देखेको आविष्कारकलाई पोखरामै बिसाएर उनी काठमाडौं पसे । ‘परिवारले राम्रो जागिर खाओस्, सेटल होस् भन्ने चाहे पनि म अव्यावहारिक भएरै काठमाडौं लागें,’ उनी भन्छन् । आविष्कारक बन्ने सपनामा पनि उनले केही किलोमिटरको यात्रा तय गरिसकेका थिए । पोखरामै उनले आविष्कार केन्द्र खोलेका थिए, २०६३ मा । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर केही साथी जम्मा पारेका उनले खोज र आविष्कारको काममा हात हालिसकेका थिए । डाँडाकाँडामा पुग्दा केबलकार राख्न सकिने गरी डिजाइन उतिबेलै बनाउँथे, खोलातिरमा पनि केही ‘स्ट्रक्चर’ कोर्थे । आविष्कार र खोजमा लगानी पनि बढी हुने हुँदा त्यसलाई टिकाउन भने सकेनन् । विज्ञानको बाटो छाड्नुमा उनीभित्रको सुषुप्त अभिनेता पनि उत्तिकै कारक बन्यो । पोखरा इन्जिनियरिङ कलेजमा पढ्दै आविष्कार र खोजको काम गर्ने उनको चाहनालाई थाँती राखिदिए । विज्ञानमा भन्दा पहिले रुचि अभिनयमै बसिसकेकाले अभिनयलाई महेशले रोजे । टेलिभिजन भर्खर–भर्खर गाउँमा पुग्दा उनीमा त्यसबारे ज्ञान कम, रोमाञ्च बढ्ता थियो । टेलिभिजनमा देखिने दृश्य, मानिस, भूगोल, कथाले उनलाई अभिनयको भोक बढायो । फिल्म हेर्दा उनलाई अभिनय गर्छु भन्ने पहिल्यैबाट थियो । हिरोको ‘ग्ल्यामर’ को पनि उनी भोका थिए । तर नाटक/फिल्ममा अभिनय गर्ने आत्मविश्वास भने बढिसकेको थिएन । पहिलो नाटक उनले कक्षा ६ मा हुँदा गरे । उनी पढेको कालिका माध्यमिक विद्यालयमा पहिलोपल्ट स्टेज चढे । नाटक खेल्न समूह उनी आफैंले तयार गरेका थिए । नाटक लेखन भने महेशका बुबाले नै गरिदिए । नाटकमा उनी नेताको पिछलग्गुको रोलमा थिए । उनले नाटक त खेले, तर स्टेजमा के गरें, के बोलें खासै याद छैन । ‘सिँढी उक्लेको र ओर्लेको याद छ । त्यसबीच मैले के गरें, के भनें याद छैन,’ उनले भने । जसो स्टेज ओर्ले, तब उनका साथी/गुरुहरूले भने हौस्याए । ‘बढो राम्रो गरिस्’ भन्दै काँधमा धाप पाएको भने याद छ । त्यही धाप, त्यही प्रशंसाबाट उनी पुलकित भए । विद्यालयमा थुप्रै अभिनय गरिरहे । बाल्यकालकै सपना अघि किशोरावस्थाको सपना धेरै टिकिरहेन, उनको हकमा । त्यसैले आविष्कारक बन्ने बाटो मोडेर अभिनयका लागि पसेका हुन् राजधानी । काठमाडौं बसाइको पहिलो दुई वर्षमै उनले केही सिरियल खेले । सुरुमा उनलाई निर्देशक र अभिनय क्षेत्रका मान्छे भेट्नै धौ भयो । बल्लबल्ल भेटेका निर्देशकलाई उनले सुटिङ स्थलमा लैजान अनुनयविनय गरे । जान पनि पाए । तर अभिनय भने गर्न पाएनन्, हिरो–हिरोइनलाई पानी दिने, छाता ओढाउने काम गरे । अभिनयको काम कसरी हुन्छ हेरे, हेर्दै सिक्दै गरे । पछि उनलाई सिरियल खेल्ने अफर आयो । सकारे । तर ३ वटा सिरियल खेलेपछि नै उनलाई वितृष्णा जाग्न थाल्यो । सिरियल खेल्न छाडिदिए । ‘म अभिनय, फिल्म, हिरो, निर्देशक सबैका बारे अध्ययन गर्थें । उनीहरूले पाएको सम्मान देख्थें, मञ्च देख्थें,’ उनले भने, ‘तर मैले सिरियलमा जे गरिरहेको थिएँ, त्यो एकदमै सामान्य थियो, त्यही मञ्चमा डोर्याउने ल्याकतको थिएन ।’ पहिलो दुई वर्षमा उनी एकदमै ढुलमूल भए । कहिले काठमाडौं त कहिले पोखरा गरिरहे । आफैंले राजेको बाटोमा अनेक प्रश्न गरिरहे । अनेकखाले समीक्षाका कठघरामा उभ्याइरहे । उनले पछि निधो गरे– फिल्म पढ्ने । अस्कर कलेजमा फिल्म पढ्न थाले । पढाइसँगै अभिनय पनि गरिरहे । केही सर्ट फिल्म, केही सिरियल खेलिरहे । काठमाडौं बसाइका तीता अनुभव सम्झँदा उनका निधारमा रेखा देखिन्छन् । उनी एउटा खोजकर्ता, अभिनेता हुन् नै एक असल प्रेरक पनि मान्छन् । ‘मलाई प्रेरणा दिने काठमाडौंमा कोही थिएन, आफैंले आफैंलाई हौस्याउँथे । आफैंलाई सम्झाउँथे, सम्हाल्थें,’ उनी भन्छन् । अस्करमा पढाइ सकाएपछि उनले त्यहीं जागिर खाए । फिल्म नै पढाउने भएपछि उनीसँग फिल्मका स्क्रिप्ट आउन थाले । स्क्रिप्टमा उनलाई रोल होइन, रिभ्यु मागिन्थ्यो । अभिनय गर्न काठमाडौं लागेका महेश आफैं स्क्रिप्ट हेर्ने, आफूजस्तै सपना बोकेर आएकालाई पढाउने भइसकेका थिए । तर उनी आफूसँग भने खुसी थिएनन् । ‘म त्यसबेला रातभर सुत्न सक्थिनँ, कोही साथी भए हुन्थ्यो जस्तो लाग्थ्यो । रात परेपछि डर लाग्थ्यो, छटपटी हुन्थ्यो,’ उनी भन्छन् । अभिनय गरेर हिरो बन्ने, ठूला मञ्चमा पुग्ने सपना बोकेर गएका उनी पढाएर बसेका थिए । अरूलाई सुझाव दिइबसेका थिए । उनलाई त्यसबेला लाग्थ्यो, कहिलेकाहीं आफ्नै सपना बोझ बनिदिन्छन् । उनी आफैंलाई धिक्कार्थे, आफैंसँग चरम दुःखी थिए । त्यही निराशाकै बेला उनको हातमा आइपरेको स्क्रिप्ट थियो ‘हल्कारा’ को । विक्रम सापकोटाले पठाएका थिए स्क्रिप्ट । स्क्रिप्ट पढेपछि भने उनलाई रिभ्यु दिनभन्दा पनि खेल्न मन लाग्यो । त्यसअघिसम्म फिल्म नगर्ने मुड बनाइसकेका उनले ‘हल्कारा’ का लागि आग्रह गरे, अडिसन नै दिए । ‘हल्काराको स्क्रिप्ट आएपछि बल्ल मैले यो खेलें भने यसले मलाई निराशाबाट निकाल्न सक्छ जस्तो लाग्यो,’ उनी सम्झन्छन् । बच्चा हुँदा अरूका चिठी पढेर सुनाएको, गाउँले परिवेश जस्ता कुराले ‘हल्कारा’ खेल्न प्रेरित गर्यो । ‘हल्कारा’ मा उनले सक्दो मिहिनेत गरेका छन् । त्यो फिल्ममा देखिन्छ पनि । हल्कारा पात्रले सुर्ती खाने कथा भएकाले खान सिके । त्यसअघि कहिल्यै सुर्ती मुखमा नहालेका उनले फिल्म खेल्दा यति खाए कि अम्मल बस्यो । अहिले छाडिसकेका छन्, तर त्यसको असर भने अझै छ । ‘पछि मेरो घाँटी यति सुक्खा भयो कि म क्यान्सर नै लाग्यो भनेर छाडिदिएँ । अहिले पनि खाना खान गाह्रो हुन्छ,’ उनी सुनाउँछन् । अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने सपना देखेका महेश पहिलो लिड रोलबाटै पुगे पनि । अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जिते । उनलाई भने अझै पत्यार छैन । ‘अवार्ड पाएपछि नेमप्लेट पुछेर आफ्नै नाम हो कि होइन भनेर चेक गरें,’ उनी हाँसो गर्छन् । खासमा महेशलाई अब बल्ल अभिनयको भोक बढेको छ । यो पुरस्कार उनको १५ वर्षको संघर्षको सानो प्रतिफल मात्र हो । उनी अब अझै ऊर्जावान्, अझै सिर्जनशील बनेका छन् । तर यो जोसमा उनी आफू जस्तोतस्तो स्क्रिप्टमा काम नगर्ने बताउँछन् । व्यावसायिकतामा नैतिकता जोडेर स्क्रिप्ट रोज्ने मनसाय छ, उनको । ‘मलाई सजिला काम गर्नु छैन, एकदमै मिहिनेत लाग्ने काम चाहिन्छ । मिहिनेतको भोको छ, मलाई मिहिनेत गर्न दिनुहोस्,’ उनी बिट मार्छन् । उनको मिहिनेत ‘हल्कारा’मा दर्शकले देख्न पनि पाएका छन् शुक्रबारदेखि । विक्रम सापकोटाको लेखन/निर्देशनमा बनेको फिल्ममा महेशसँगै विनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, उमेश तामाङलगायतको अभिनय छ ।
युवा ग्यालरी
म्याक डोनाल्ड्स सुरु
- कान्तिपुर संवाददाता
सन् १९४० मा आजकै दिन (मे १५) अमेरिकामा पहिलो म्याक डोनाल्ड्स रेस्टुरेन्ट खुलेको थियो । क्यालिफोर्नियाको सान बनार्डिनोमा दुई दाजुभाइ मौरिस (म्याक) र रिचार्ड म्याकडोनाल्डले पहिलो रेस्टुरेन्ट सुरु गरेका हुन् । सुरुमा म्याक डोनाल्ड्सले विभिन्न थरीका खानाहरू उपलब्ध गराउने गर्थ्यो । तर १९४८ मा रेस्टुरेन्टलाई केही परिमार्जन गरी सस्तो मूल्यमा धेरै परिमाणमा खाना बिक्री गर्न सुरु गरेका थिए । त्यसका साथै उनीहरूले खासगरी ह्यामबर्गर, आलु चिप्स (पछि फ्रेन्च फ्राइज) तथा पेय पदार्थ उपलब्ध गराउन थालेका थिए । वेटरहरूको खर्च जोगाउन सेल्फ सर्भिस सुरु गरेका दाजुभाइले प्रतिस्पर्धी रेस्टुरेन्टहरूको भन्दा आधा मूल्यमा बर्गर बिक्री गर्थे । जसका कारण निकै छोटो समयमा नै म्याक डोनाल्ड्सले ठूलो सफलता हासिल गरेको थियो । जसका कारण उनीहरूले फेन्चाइज मोडल सुरु गरेका थिए । १९६७ मा अमेरिकाबाहिर क्यानडामा सुरु भएको म्याक डोनाल्ड्सका हाल विश्वभर १ सय १५ देशमा ३४ हजारभन्दा बढी आउटलेट छन् ।
युवा ग्यालरी
जावलाखेलमा 'रेडियो अन ह्विल्स’
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– रेडियो कान्तिपुरले हरेक वर्ष देशका प्रमुख सहरहरूमा आयोजना गर्दै आइरहेको रेडियो रोड शो ‘रेडियो अन ह्विल्स’को यस वर्षको संस्करण ललितपुरको जावलाखेल चोकमा शुक्रबार साँझ सांगीतिक कार्यक्रम गर्दै सकिएको छ । विगत ७ वर्षदेखि ‘सामाजिक सद्भावका लागि संगीत’ नाराका साथ हुँदै आइरहेको उक्त रोड शोमा विभिन्न खेलका साथै सहभागी दर्शकलाई प्रायोजकका तर्फबाट उपहार प्रदान गरिएको रेडियो कान्तिपुरका कार्यक्रम निर्देशक भूपेन्द्र खड्काले बताए । डाबर नेपालको रियल फिजिन जुसको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा इन्दिरा जोशी, कमल खत्री, विश्व नेपाली, जुनु रिजाल, रवि ओडका साथमा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । वैशाख ३ मा धरानदेखि सुरु भएको उक्त कार्यक्रम इटहरी, दमक, बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा, चितवन, धनगढी, नेपालगन्ज, सुर्खेत, बुटवल, पोखरा र काठमाडौं गरी १५ सहरमा सम्पन्न भएको थियो । रेडियो कान्तिपुरका कार्यक्रम निर्देशक खड्काका साथमा आरजेहरू महेश लिम्बू, सन्जोक बस्याल, प्रियंका प्रसाईं र दीपाञ्जली लामाले सञ्चालन गरेका थिए ।
सम्पादकीय
महाभियोगसम्बन्धी सर्वोच्च फैसलाको अर्थ
- कान्तिपुर संवाददाता
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध छ वर्षपहिले प्रतिनिधिसभामा दर्ता भएर पछि फिर्ता लिइएको महाभियोग प्रस्तावविरुद्ध परेको रिटको फैसलामा संवैधानिक इजलासले गरेको संविधानको धारा १०१(६) को बृहत् व्याख्या आफैंमा अर्थपूर्ण मात्र छैन, भविष्यका निम्ति मार्गदर्शनीय पनि छ । ‘प्रधानन्यायाधीश, न्यायाधीशलगायत संवैधानिक पदाधिकारीविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै उनीहरू निलम्बित नहुने’ व्याख्याले आइन्दा संसद्मा प्रतिशोधप्रेरित महाभियोग दर्ता नहुने अपेक्षा गर्न सकिन्छ । पर्याप्त वस्तुगत आधारमा र तार्किक निष्कर्षका निम्ति भन्दा पनि निलम्बन गर्ने कुत्सित मनसायले मात्रै महाभियोगको ब्रह्मास्त्र दुरुपयोगको सम्भावनालाई सर्वोच्च अदालतको यो फैसलाले घटाएको छ । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र अन्य संवैधानिक पदाधिकारीहरूविरुद्ध प्रतिशोधप्रेरित महाभियोग भविष्यमा कथं दोहोरिएछ भने पनि त्यसलाई अन्तरिम आदेशमार्फत तुरुन्तै रोक्ने आधारसमेत यो फैसलाले सर्वोच्च न्यायालयलाई दिएको छ । संविधानको धारा १०१(२) मा ‘प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्यसंख्याको एकचौथाइ सदस्यले प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यसंख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुनेछ’ भनिएको छ । यसैको उपधारा ६ ले उपधारा २ बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउनेछैनन्’ भनेको छ । र, यो संविधान लागू भएपश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्की तथा तत्कालीन प्रधानन्यायाधीशहरू सुशीला कार्की र चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएकामा उनीहरू तुरुन्तै निलम्बनमा परेका थिए । प्रतिनिधिसभाले महाभियोग प्रस्ताव स्विकारेर महाभियोग समितिमा नपठाउँदै निलम्बन गर्ने यो अभ्यासले उक्त संवैधानिक प्रावधानकै दुरुपयोगको खतरा बढाएको थियो । अख्तियार प्रमुख कार्की र प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउनु औचित्यपूर्ण भए पनि प्रधानन्यायाधीश कार्कीको हकमा त उक्त प्रस्ताव नै प्रतिशोधपूर्ण र हास्यास्पद थियो । यसबाट शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्तकै धज्जी उडाइएको थियो । न्यायालयलाई विकृतिको भासमा डुबाएका राणाविरुद्धकै महाभियोग पनि टुंगोमा नपुर्याएर संसद् किंकर्तव्यविमूढ बनेको थियो भने, महाभियोग प्रस्तावक राजनीतिक शक्तिहरूको उद्देश्य पनि खालि निलम्बन गर्नु मात्रै भएजस्तो देखिन्थ्यो । संवैधानिक विकासमा यसको परिणति कस्तो हुन्छ भन्ने चिन्ता न संसद्लाई थियो, न त राजनीतिक दलहरूलाई । यही परिपाटी जारी रहेमा महाभियोग भन्नु पनि केवल एकचौथाइ सांसद्को खेलजस्तो मात्रै हुने निश्चित थियो । राजनीतिमा नैतिकता दिनानुदिन गायब भैरहेका बेला यो प्रावधानको स्पष्ट व्याख्या आफैंमा जरुरी थियो । यसैबीच, संवैधानिक इजलासले गत मंसिर ७ मा गरेको फैसलाको गत बिहीबार सार्वजनिक पूर्णपाठले यससम्बन्धी प्रावधानलाई थप प्रस्ट्याएर संवैधानिक विकासमा टेवा पुर्याएको छ । संविधानको उक्त प्रावधान प्रस्ताव दर्ता हुनेबित्तिकैका लागि नभएर प्रतिनिधिसभाले स्वीकार गरी महाभियोग सुनुवाइ समितिमा पठाएपछिको अवस्थाका लागि भएको सर्वोच्चको ठहर मुनासिब छ । फैसला अनुसार अब महाभियोग प्रस्ताव दर्ता भएपछि त्यसमा कारबाही प्रारम्भ नहुँदै सभामुख वा संसद्को महासचिवले पत्र लेखी निलम्बन गर्न सक्नेछैनन् । प्रतिनिधिसभा सदस्यहरूले पेस गर्ने प्रस्ताव स्वयं संसद्को निर्णय नमानिने र संसद्ले कारबाही प्रक्रिया अगाडि बढाउने कुराको अनुमोदन गरेपश्चात् मात्र महाभियोगको कारबाही प्रारम्भ भएको मानिने सर्वोच्चको व्याख्याले यस्तो प्रस्तावको ‘सिकार’ हुन सक्ने न्यायाधीश/पदाधिकारीलाई पर्न सक्ने असुरक्षाको भावनालाई पनि कम गरेको छ । तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्ध पेस भएको महाभियोग प्रस्ताव संविधानका प्रावधान, भावना र मर्मअनुकूल नभएको तथा प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेको यस फैसलाले महाभियोगबारे थप केही सवालहरूको पनि निरूपण गरेको छ । यसले संसद्ले आफ्नो विशेष अधिकारस्वरूप सुरु गरेको महाभियोगको कारबाही सर्वोच्चले परीक्षण गर्न मिल्छ भनेको छ । ‘संसद्को विशेषाधिकारसम्बन्धी कानुन पनि अन्य कानुनसरहकै एउटा हो’ भन्दै पूर्णपाठमा भनिएको छ, ‘आफैं व्याख्या गरेर आफ्नो विशेषाधिकार विस्तृत गर्न संसद्ले पाउँदैन, गरिएका कामकारबाही संविधानसम्मत छन् वा छैनन् भनी अदालतले हेर्न सक्छ ।’ यस्तै, सर्वोच्चले फैसलाको विषयलाई लिएर संसद् लगायत अन्य कुनै निकायले हस्तक्षेप गर्न नमिल्ने पनि स्पष्ट पारेको छ । इजलासमा संलग्न पाँचमध्येका एक न्यायाधीश आनन्दमोहन भट्टराईले फैसलामा अतिरिक्त टिप्पणीका रूपमा राखेका विचार पनि मननीय छन् । एसियाका लोकतान्त्रिक मुलुकहरूमा कार्यक्षमताको अभाव र खराब आचरण मूलतः यी दुई अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशहरूलाई पदबाट हटाउन सकिने व्यवस्था गरिएकामा हाम्रो संविधानमा सारभूत सर्तबारे नै स्पष्टता नदेखिने उनको टिप्पणी जायज छ । आचारसंहिता उल्लंघनकै हकमा पनि महाभियोग लाग्न सक्ने संवैधानिक प्रावधान आफैंमा तुकहीन मात्र देखिन्न, यस्तो व्यवस्थाले यति संगीन संसदीय हतियारलाई पनि हल्का बनाएको छ । यस्तै, तीनजना सांसदले महाभियोगको सूचना दिएर यससम्बन्धी कारबाहीको सुरुआत गर्न मिल्ने संवैधानिक प्रावधानमाथि न्यायाधीश भट्टराईले गरेको प्रश्न पनि उत्तिकै वैध छ । समग्रमा यो फैसलाले महाभियोगसम्बन्धी संसदीय काम–कारबाहीउपर प्रशस्त प्रकाश पारेको छ । यसै पनि प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशका हकमा समेत संवैधानिक अंगका पदाधिकारीसरहै महाभियोगका प्रावधान हुनु त्यति मिल्दो देखिँदैन । राजनीतिक दल तथा नेताहरू संलग्न भएका संवैधानिक वा राजनीतिक मुद्दाउपर फैसला सुनाउनुपर्ने न्यायाधीशहरूलाई यसले अतिरिक्त असुरक्षा भाव प्रदान गर्ने प्रस्टै देखिन्छ । आजसम्मका अभ्यासले पनि यससम्बन्धी चिन्ता जगाएको छ । यस्तो सन्दर्भमा आएको यो फैसला एवं पूर्णपाठ सही छ । यसले संवैधानिक प्रावधानहरूलाई तर्कसंगत बनाउन भविष्यमा संविधान संशोधनको आधार प्रदान गरेको छ । तत्काललाई भने संसदीय दलहरूले यस सन्दर्भमा उच्च नैतिकतायुक्त कदम चालेर संवैधानिक मर्मको जगेर्ना र शक्ति पृथकीकरणको मूल्यको रक्षा गर्न सक्छन्, गर्नु पनि पर्छ । अनि मात्रै संसदीय लोकतन्त्र फस्टाउँछ, र संवैधानिक विकास गतिशील बन्छ ।
सम्पादकलाई चिठी
अनेक काण्ड र भ्रष्टाचार किन देखेको नदेख्यै ?
गुपचुप पारिएकाबाहेक यसअघि चर्चामा आएका काण्डहरू धेरै छन् । तीमध्ये केही हुन् ः एनसेल, चूडामणि शर्मा, स्विस बैंक, चमेलिया जलविद्युत्, फोरजी वितरण, विनोद चौधरी कर छुट, वाइडबडी, न्यारोबडी, सिन्डिकेट हटाउन बार्गेनिङ, बूढीगण्डकी, लोकमान कार्की, भृकुटीमण्डप लिज प्रकरण, राष्ट्रिय ढुकुटीबाट आसेपासे पोस्ने काम, सेक्युरिटी प्रिन्टिङ प्रेस, गोपाल खड्का, पप्पु कन्स्ट्रक्सन, लाइसेन्स छपाइ कमिसन, चन्द्रागिरि केबुलकार सम्झौता, ललितानिवास प्रकरण । यी अर्बौं भ्रष्टाचारमा सरकारी नेता, तिनका नातागोता, तिनले तोकेका कर्मचारी र भाग दिन राजी ठेकेदारहरू नै संलग्न भएका देखिन्छन् । कतिपय भ्रष्टाचार नीतिगत रूपमै भएका पनि छन् । अयोग्य लडाकुलाई दुईदुई लाखका दरले रकम दिइने निर्णय पछिल्लो उदाहरण हो । भ्रष्टाचार भएको पाँच वर्षपछि उजुर नै नलाग्ने विधेयक संसद्मा दर्ता हुनुले पनि सरकार स्वयं भ्रष्टाचारी भएकाले कानुनी हतियार प्रयोग गरेर आफू बच्न चाहन्छ भन्ने कुरा प्रस्टै छ । छानबिनका नाममा आयोग बनाएर डिसमिस पारिएका र अदालतद्वारा पक्षपोषण गरिएका भ्रष्टाचारहरू पनि धेरै छन् । यसै सन्दर्भमा पछिल्लो पटक ‘नक्कली भुटानी शरणार्थी काण्ड’ ले तहल्का मच्चाएको छ । यसलाई राज्यविरुद्धकै अपराधका रूपमा पनि चर्चा गरिँदै छ । निवर्तमान गृहमन्त्री नै पक्राउ परेका छन् । यसले, निराश नेपाली जनतालाई केही खुसी बनाएको त छ तर दोषीलाई कारबाही गर्ने व्यक्ति पहिला त आफैं निर्दोषी हुनुपर्छ भन्ने कुरा सम्झँदा फेरि निराश हुनुपरेको छ । प्रधानमन्त्री दाहालकै पालामा ‘भ्रष्टाचार निर्मूल अभियान’ सुरु हुनु रहेछ । तर यसअघि चर्चामा आएका अनेक भ्रष्टाचार काण्डका विषयमा किन आँखा चिम्लिइयो ? के गृहमन्त्री नारायणकाजी श्रेष्ठकै एकल आँट र इच्छाशक्तिबाट यो भएको हो ? ‘पाँच हजारको जिम्मा लिने’ अभिव्यक्तिविरुद्ध स्वयं प्रधानमन्त्री दाहालमाथि परेको रिट अदालतमा दर्ता हुनासाथ सबै माओवादीहरू मिलेर तुहाउन सफल भएको भर्खरै हो । क्यान्टोन्मेन्टका लडाकुका नाममा निकासा भएको आठ–नौ अर्ब हाम गरेको कुरा सहकर्मीबाटै पोल खुलेको पनि हुँदै हो । बूढीगण्डकीको रकम बाँडफाँट गरेको कुरा पनि सुनिएकै हो । ‘घरभेटी ठेकेदार’ बारे पनि थुप्रै चर्चा भएकै हो । प्रचण्डको नेतृत्वमा हिंसात्मक आन्दोलन चल्दा उनले ‘अन्डरवर्ल्डका मस्ट वान्टेड डन’ दाउद इब्राहिमसँग मिलेर नक्कली नोटको कारोबार गरेका थिए भन्ने कुरा, चर्चित पुस्तक तुषानलमा उल्लेख छ । देशमा एमसीसी पास भएको छ । त्यसैले यही बेला भएका भ्रष्टाचारविरोधी काम देख्दा, यो कतै विदेशी रणनीतिअनुरूप भइरहेको त छैन भन्ने शंका पनि लाग्छ । यदि साँच्चै कारबाही सुरु गरिएको हो भने, भोलि पोलापोल हुँदा सबैजसो सत्ताधारी नेता बाँकी रहनेछैनन् । त्यसपछि पनि देश र जनताको पक्षमा गर्नुपर्ने संवैधानिक सुधारका कामहरू बाँकी नै रहनेछन् । – इन्द्रकुमार श्रेष्ठ, कमलाकुञ्ज, ओखलढुंगा
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउन थालेको ठगी र संगठित अपराधको केसमा अहिलेसम्म केवल एक दर्जन व्यक्ति अनुसन्धानमा तानिएका छन् । प्रहरीका अनुसार अहिलेसम्म करिब १ सय २५ जनाले ठगीमा उजुरी दिएको र ती सबैको पैसा जोड्दा करिब २५ करोड पुगेको छ रे । सूचीमा उल्लेख भएका सबै ४ सय ७५ पीडित व्यक्तिहरू सम्पर्कमा आउने हो भने झन्डै १ अर्ब रुपैयाँ ठगिएको विवरण आउन सक्छ । कतिपय पैसा बुझाएका व्यक्ति उल्टो कारबाही होला भन्ने डरले प्रहरीमा उजुरी दिन आएका छैनन् । सरकारले निर्धक्कपूर्वक निबेदन दिनोस् कुनै डर मान्नु पर्दैन भनेर आह्वान गरे अझै थप उजुरी आउने निश्चित छ । अब प्रश्न उठ्छ यति ठूलो ठगी र संगठित अपराधमा केवल एक दर्जन मान्छे मात्र सहभागी भएका थिए त ? त्यो ठगिएको करिब १ अर्ब रकम उही एक दर्जन अभियुक्तले मात्र भाग लगाए ? कि त्यो भाग अरू ठूला नेता–कर्मचारीहरूले पनि पाए ? यसको गहन रूपमा अनुसन्धान हुनैपर्छ । १ अर्ब रुपैयाँ केवल एक दर्जनले मात्र खाए भनेर पत्याउन सकिँदैन । त्यो ठगिएको रकम तलदेखि माथिसम्म धेरैले खाएको–पाएको हुन सक्छ । यसर्थ अहिलेको अनुसन्धानले को–कसले कतिकति रकम खाए ? को–कोलाई बाँकी पैसा पुर्याए ? ती सबै कुरामा पनि सूक्ष्म अध्ययन हुनुपर्छ । किनकि यो प्रकरण भनेको राष्ट्रिय लज्जाको विषय हो । आज यो प्रकरणले नेपाललाई नै विदेशीले हेर्ने नजर बदलिन पुगेको छ । राष्ट्रकै बदनाम गर्ने यस्तो संवेदनशील कुरामा सरकार र प्रहरी कहीँ पनि चुक्नु हुन्न । दलहरूले संरक्षण गर्नु हुन्न । नागरिक समाजले पनि साथ दिइरहेको यो बेला दोषीहरूलाई कडा कारबाही गर्न सके मात्र बदनाम हुन थालेको देशको छवि बचाउन सकिन्छ । – गोपाल देवकोटा, गौरीनगर, चाबहिल
सम्पादकलाई चिठी
बाँदर देशभरिकै समस्या
कान्तिपुरमा बागलुङको जैमिनी नपाको बाँदर नियन्त्रण गर्न पार्क निर्माण सम्बन्धी समाचार पढियो । बाँदर लगायत कतिपय वन्यजन्तु देशभरिकै समस्या हुन् । वन्यजन्तु मार्न पनि नदिने र नियन्त्रण पनि नगर्ने सबै तहको सरकारप्रति खेद छ । यो बजेट पनि बनाउने सिजन भएकाले सबै जनप्रतिनिधि अलि बढी सकारात्मक भैदिए हुने थियो । कतिपय ठाउँको बसाइ–सराइको मुख्य कारण नै वन्यजन्तुले दिने दुःख हो । वन्यजन्तुले बर्सेनि गरिब किसानको अर्बौंको बाली नष्ट गरिरहेका छन् । पहाडी जिल्लातिर जमिनहरू बाँझै छन् । सरकारले यस दिशामा चासो राखिदिए ग्रामीण युवाहरूको वैदेशिक यात्रा रोक्न पनि मद्दत पुग्थ्यो । कृषिजन्य वस्तुको आयात प्रतिस्थापनलाई पनि यस कार्यले मद्दत नै पुग्छ । जनप्रतिनिधिहरूलाई यस दिशामा ठोस कार्य गर्न अनुरोध छ । – रामकृष्ण पराजुली, लामोसाँघु, सिन्धुपाल्चोक
दृष्टिकोण
कसले ल्याउने नेपालमा पैसा ?
- अच्युत वाग्ले
यतिखेर सिंगो मुलुकको सम्पूर्ण ध्यान आगामी आर्थिक वर्ष २०८०–८१ सालको बजेट निर्माणमा केन्द्रित हुनुपर्थ्यो । अर्थतन्त्र जस्तो जोखिमपूर्ण अवस्थामा छ, देशलाई यो सङ्कटबाट उकास्ने उपाय निकाल्न यहाँ क्रियाशील सबै साना–ठूला, आफूलाई जिम्मेवार भन्ने दलहरूको राजनीतिक ऊर्जा खर्च हुनु आवश्यक थियो । तर, परिस्थिति बेग्लै छ । देशमा भएका अनेकौं संगठित भ्रष्टाचार काण्डमध्ये बल्ल आंशिक उजागर भएको एउटा, नक्कली भुटानी शरणार्थी प्रकरणले, राजनीतिमा ठूलो भुइँचालो ल्याइदिएको छ । बाध्यात्मक अवस्थामा आएका ‘ठूला’ नेताका औपचारिक वक्तव्यहरूको साझा भाषा ‘अनुसन्धानमा सहयोग गर्ने’, ‘दोषी कोही नछुटून्’ भन्ने भए पनि यसैलाई राजनीतिक प्रतिशोध लिने र एकअर्काबीच पोल खोलाखोल गर्ने औजारका रूपमा प्रयोग गर्ने रणनीति सत्ता र प्रतिपक्ष दुवैतिर देखिन्छ । वर्तमान सत्तारूढ नेकपा माओवादीबाट चोरेर ल्याएका दुवै सबभन्दा प्रभावशाली नेताहरू रामबहादुर थापा र टोपबहादुर रायमाझी यो प्रकरणमा तानिएपछि एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग बदला लिन लडाकु शिविरको अनियमितताको फाइल खोलेर अनुसन्धान गर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना विश्वासपात्र बालकृष्ण खाँडको गिरफ्तारीपछि त्यो लहरोले कति ठूलो पहरो तान्छ भन्नेमा सशंकित छन् । माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि यो प्रकरणका कारण, गणितीय धरापमा अडिएको सरकार नै जोखिममा पर्छ कि भन्ने भय छ । राजनीतिको निर्णायक तहको भित्री वृत्तमा जुन छटपटी छ, त्यो कारण बुझ्न सकिने तर इतिहासमै अप्रतीम छ । एकले अर्कोलाई ‘तँलाई पनि पख्लास्’ भन्ने आशयको दबाब र ‘होइन, सँगै मिलेर सकेसम्म यसलाई सामसुम पारौं’ भन्ने समानान्तर रणनीति नेताहरूले लिएको सहजै देखिएको छ । खोलिएको फाइलको अनुसन्धानलाई तार्किक टुंगोमा पुर्याएर अदालतमा मुद्दा दर्ता गर्ने सरकारको नैतिक जिम्मेवारी कसरी पूरा हुन्छ ? त्यो भविष्यकै गर्भमा छ । अनियमितताहरू सार्वजनिक हुँदा सुरुमा ठूलो होहल्ला हुने तर मुद्दा दर्ता गर्ने बेलासम्म त्यसलाई अत्यन्तै कमजोर बनाएर अदालत पुर्याउन नेपालको अभियोजन प्रणाली पोख्त भइसकेको अनुभूति आम छ । यो मुद्दा अपवाद हुन सके मुलुक धन्य हुनेछ ।
भ्रष्टाचार नै जीवनशैली राष्ट्रको मूल चिन्ताको विषय यो काण्डमा कसको नाम तानियो वा तानिएन भन्ने क्षणिक कौतूहलभन्दा धेरै गम्भीर छ । नेपालको राजनीतिमा यस्तो कुनै एउटा मात्र पनि पात्र निर्णायक नेतृत्व तहमा देखिएको छैन, जसले दृढतापूर्वक सार्वजनिक घोषणा गरोस्, ‘मैले एक पैसा पनि अनुचित स्रोतबाट लिएको छैन ।’ र, कहीँकतै त्यस्तो सुनिएको भए पनि उसको जीवनशैली, समाजमा स्थापित नैतिक मानक र पटकपटकका चुनाव लड्दा गरेको खर्च रकमको मात्राले त्यो दाबीलाई पुष्टि पनि गरोस् । अथवा, यस्तो पनि कुनै पात्र नेपाली मूलधारको राजनीतिमा देखियोस् जसले आफ्नो राजनीतिक जीवनमा कमाएको सबै निजी सम्पत्ति अन्ततः राज्यका नाममा हुने घोषणा गरेर आडम्बरमा प्रदर्शन गरिएको त्यागलाई सत्यापित गर्ने हिम्मत गरोस् । दुःखद वास्तविकता, नेपालको राजनीति राष्ट्र र जनताका नाममा त्याग गर्ने त्यो सम्भावनातर्फ सम्भवतः फर्कनै नसक्ने गरी भीरको बाटो लागिसकेको छ । क्रान्तिबाट आएका भनिएका सबै दलका नेताहरू मात्र जिम्बावेका कुनै बेलाका लोकप्रिय शासक रोबर्ट मुगाबे मार्गमा चल्न लिप्त छैनन्, नयाँ उदाएकाहरूले समेत अङ्कुरणकै चरणमा करोडका काण्डहरू रच्न थालिसकेका छन् । भ्रष्टाचार एक्लै मौलाउँदैन । यसका लागि फराकिलो सामाजिक स्वीकृति र बलियो ‘इकोसिस्टम’ चाहिन्छ । दलालहरू, योजनाकारहरू, घूस दिने रकम व्यवस्थापन गर्नेहरू, ग्राहकको वैध करोबार सीमालाई नाघेर कारोबार गराउने बैंकहरू र भ्रष्टाचार गरेको पैसा तह लगाउनेहरू सबै त्यो भ्रष्ट प्रणालीका पुर्जा र भागीदार हुन् । अवैध भुटानी शरणार्थी बन्न तयार हुने र लाखौं खर्चेर अमेरिका पुग्न अतालिनेहरू न असल अर्थमा नेपाली नागरिक हुन् न त कम भ्रष्ट नियत भएका उपायहीन गरिब नागरिक हुन् । भ्रष्टाचार गरेको पैसालाई विदेशी मुद्रामा सटही गरेर विदेशमा पलायन गराउने जति भयावह आकारको अवैध सञ्जाल खडा भएको छ, त्यो मुलुकभित्र भ्रष्टाचारलाई तीव्र गतिमा विस्तार गर्ने मुख्य ऊर्जा बन्दै गएको छ । यो गतिविधिमा राजनीतिकर्मीका अतिरिक्त, उच्च ओहदाका वर्तमान र पूर्व कर्मचारी र समाजलाई नैतिकताको पाठ पढाएर नथाक्ने अभिजात बौद्धिकहरू छन् । ‘अमेरिका, बेलायत वा अस्ट्रेलिया पलायन भएका छोराछोरीलाई घर–गाडी किन्न वा बिहेवारीे गर्न, मैले दुई–चार लाख डलर यताबाट पठाइदिएँ’ भनेर खुलेआम घोषणा गर्नेहरूको संख्या अहिले हजारौं पुगेको छ । यो कसरी सम्भव भयो ? ती कानुन जानेकाहरू र राष्ट्रको अवस्थाबारे चिन्ता गरेर सामाजिक सञ्जाल र सञ्चारमाध्यम रङ्गाउनेहरूलाई कुन नैतिकताले यसो गर्न दियो ? यी प्रश्नहरूको जवाफ उनीहरूसँग छैन । नेपाली समाजले यस्तो गतिविधि भ्रष्टाचार हो भन्ने नै मान्न छोडेको छ । यथार्थमा, भ्रष्टाचार नेपाली समाजको जीवनशैली बनिसकेको छ । त्यसबाट भएको राष्ट्रको बदनामीको ठूलो मूल्य नेपालले चुकाउँदै छ । अर्थतन्त्रमा यसको असर परेको छ ।
धरापमा मुलुकको साख राष्ट्रको ढुकुटी रित्तो छ । आर्थिक वर्षका दस महिना बित्दा दाताहरूबाट अपेक्षा गरिएको ५५ अर्ब रुपैयाँको ९ प्रतिशत मात्र अनुदान आएको छ । प्रत्यक्ष वैदेशिक लगानी जम्माजम्मी २ करोड डलर आएको छ । ऋणतर्फ पनि भर्खरै अन्तर्राष्ट्रिय मुद्रा कोषले स्वीकृत गरेको ५ करोड डलर नै मुख्य हो । सरकारी पदमा बस्नेहरूले वैदेशिक सहायता र वैदेशिक लगानी भित्र्याउने जति भाषण गरे पनि तिनको खोक्रोपन उदांगै छ । यसमा आश्चर्य मान्नुपर्ने कारण छैन । राज्य संयन्त्रको उपल्लो तहमा बसेर निरन्तर भ्रष्टाचारका तानाबाना बुनिरहने र मुलुकबाट अर्बौं डलर बराबरको रकम विदेश पलायन गराइरहेको देखेसुनेका नेपालका विदेशी शुभचिन्तक, दाता र लगानीकर्ताहरूले नेपालमा पैसा भित्र्याउन नचाहनु अस्वाभाविक होइन । राजस्वसमेत लक्ष्यको तुलनामा धेरै कम उठ्नुमा राजस्व प्रशासनभित्र क्यान्सरझैं फैलिएको भ्रष्टाचार धेरै हदसम्म कारक छ । राज्य प्रणालीको विश्वसनीयता र मुलुकको आर्थिक साखलाई यसरी मट्टिमेल गराइसकेपछि योभन्दा फरक परिणामको अपेक्षा गर्न कसरी सकिन्छ र ?
कसरी होला सुधार ? भ्रष्टाचारको यो भयावह अवस्थालाई थोरै मात्र भए पनि नियन्त्रण गरेर राज्यको विश्वसनीयतालाई पुनःस्थापित गर्न सक्ने र केही साहसी सुधारका लागि सरकारले हिम्मत गर्ने हो भने मुलुकलाई आर्थिक अन्योलबाट तत्काल सहज बाटामा फर्काउन र दीर्घकालमा आर्थिक वृद्धिदरलाई दिगो बनाउन सकिने परिस्थिति छ । विदेशी मुद्रा सञ्चिति ११ अर्ब अमेरिकी डलर अथवा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग २६ प्रतिशत पुगेको छ । यसले साढे नौ महिनाको वस्तु तथा सेवा आयात धान्छ । भुक्तानी सन्तुलन १८० अर्ब रुपैयाँले बचतमा छ । रेमिट्यान्सको क्रमिक बढ्दो प्रवृत्ति छ र चालु आर्थिक वर्षको अन्त्यसम्ममा १० अर्ब डलर पुग्ने अपेक्षा छ । सार्वजनिक ऋण–जीडीपी अनुपात करिब ४१.५ प्रतिशत छ, जसमध्ये आधा मात्र बाह्य ऋण हो । सामान्यतः उत्पादनमूलक र छिटो प्रतिफल दिने क्षेत्रमा उपयोग गर्न सक्ने हो भने थप केही खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने सहजता छ । विवेकपूर्ण आर्थिक नीति र वित्तीय अनुशासनमार्फत यो अवसरको सदुपयोग गर्न राजनीतिक इच्छाशक्ति प्रदर्शन हुनुपर्छ । नेपालको अर्थतन्त्रमा सरकारले गर्नुपर्ने कामको जिम्म्वोरी धेरै महत्त्वपूर्ण क्षेत्रमा निजी क्षेत्रले सर्लक्कै धानिदिएको छ । उदाहरणका लागि, करिब ७० प्रतिशत रोजगारी र ८२ प्रतिशत आर्थिक उत्पादकत्व यही क्षेत्रबाट आउँछ । सार्वजनिक यातायात प्रणालीमा ९८ प्रतिशत लगानी निजी क्षेत्रले गरेको छ । देशको कुल बैंकिङ सम्पत्तिको करिब ८५ प्रतिशत निजी बैंकहरूसँग छ । जलविद्युत् विकास, पर्यटन पूर्वाधार, दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि, शिक्षा तथा स्वास्थ्य, हवाई यातायात र घरजग्गा तथा आवास विकास लगायतका क्षेत्रमा निजी लगानी सार्वजनिक खर्चको तुलनामा कैयौं गुणा धेरै छ । उच्च उदारीकरण भएका विकसित देशहरूमा पनि यी विरलै भेटिने उदाहरण हुन् । सरकारले कुनै लगानी नगरी धानिएका र फैलिएका अर्थतन्त्रका यी महत्त्वपूर्ण क्षेत्रका उचित सरोकारहरूलाई केही नीतिगत सुधारहरूमार्फत सघाउन सधैं कन्जुसी गर्ने मानसिकताबाट अब नीतनिर्माताहरू मुक्त हुनु जरुरी छ । आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमामा व्यस्त रहेको सरकारले अर्थतन्त्रमा उपलब्ध यी सबलताहरूलाई कायापलट (टर्न अराउन्ड) को अवसरका रूपमा अनूदित गर्ने हैसियत र दक्षता प्रदर्शन गर्नुपर्छ ।
केमा हुन सक्छ ॅडिपार्चर’ ? अब आउने बजेटले खुट्टा नकमाई केही साहसी नीतिगत र संस्थागत व्यवस्था गर्न सक्नुपर्छ । केही प्रतिशत ब्याजदर घटाउने र पुराना बजेटका बुँदालाई सामान्य संशोधन गरेर फेरि प्रस्तुत गर्ने निरर्थक कसरत दोहोर्याउन समय खेर फाल्नु हुँदैन । जुन कुनामा समस्या छ, समाधान त्यहीँ केन्द्रित हुन सक्नुपर्छ । १. पुँजीगत खर्च हुन नसकेका कारण अर्थतन्त्रमा बहुआयामिक जटिलताहरू उत्पन्न भएका छन् । त्यसलाई सम्बोधन गर्ने शक्तिशाली संरचनागत व्यवस्था जरुरी छ । गौरवशाली आयोजनाको अवधारणा नै खारेज गर्नुपर्छ । २. उत्पादकत्व वृद्धिको अमूर्त गफ नगरेर उत्पादित कृषिउपजलाई उचित मूल्य र सहज बजार उपलब्ध गराउन आपूर्ति सञ्जाल र कोल्ड स्टोरेज सुविधामा उल्लेख्य लगानी प्रवाह गर्नुपर्छ । यस क्षेत्रलाई आयात प्रतिस्थापनका लागि निरन्तर प्रोत्साहित गर्नुको विकल्प छैन । ३. शिक्षा र स्वास्थ्यमा बाहिरिने विदेशी मुद्रामा अत्यावश्यकीयबाहेक पूर्ण रूपले रोक लगाउनुपर्छ । उच्च शिक्षामा शुल्क तिर्ने विदेशी विद्यार्थी भित्र्याउन बाधक बनेका सबै अड्चन हटाउनुपर्छ । ४. वैदेशिक लगानीको नकारात्मक सूचीलाई, सुरक्षाको सरोकारबाहेक, खारेज गर्नुपर्छ । साथमा, वैदेशिक लगानीका लहडी अपेक्षाबाट मुक्त भएर स्वदेशी लगानीका लागि थप सहज वातावरण बनाउन ध्यान दिनुपर्छ । ५. जलविद्युत् अर्थतन्त्रलाई सम्भावित अराजकता र अक्सर सतहमा आउने, निर्यात कि उपभोग वा साना कि ठूला आयोजनाको प्राथमिकता आदिजस्ता, अन्योलपूर्ण भाष्यहरूलाई चिर्न साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ । आरम्भ भइसकेका आयोजनाहरूको पीपीए गर्ने/नगर्ने अन्योल राज्यले नै सृजना गर्नु हुँदैन, दिशा दिनुपर्छ । ६. वित्तीय र प्रशासनिक संघीयतालाई पूर्ण क्रियाशील बनाउने रणनीति बजेटले दिन सक्नुपर्छ । ७. आर्थिक रूपमा असजिलो पर्दा पेन्सन भुक्तानी नपाउनेमा पहिलो पङ्क्तिमा दूरदराजका गाउँमा सेवा गरेका शिक्षक र तल्लो तहका पूर्वकर्मचारी होइन, सरकारी र नियामक निकायमा बसेर विदेशतर्फ अवैध पुँजी पलायन गराई भ्रष्टाचारलाई मलजल गरिरहेका उच्च तहकाहरू पर्नुपर्छ । उनीहरूको पेन्सन नै खारेज गर्ने हिम्मत गरे अझ उत्तम । ८. व्यापार घाटा कम गर्न नयाँ दृष्टिकोण र कार्यक्रम प्रस्तुत गर्न सक्नुपर्छ । ध्वस्त भएको आर्थिक कूटनीतिलाई पुनःस्थापित गर्न नेपालका अनुत्पादक दूतावास/मिसनहरूका लागि भएको निरन्तर खर्चको औचित्यका आधारमा पुनरवलोकन गर्ने साहस देखाउनुपर्छ । ९. कर प्रणालीको सुधार गर्दा दुईतिहाइभन्दा ठूलो भइसकेको छाया अर्थतन्त्रलाई वैधानिक मार्गमा ल्याउने ध्येय वित्तनीतिको केन्द्रीय अंश बन्नुपर्छ । वर्तमान सरकार, विशेषतः प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतले वितरणमुखी बजेटको मोह वा बाध्यताबाट मुक्त भएर यस्तो ‘डिपार्चर’ गर्न कति हिम्मत देखाउँछन्, मुलुकको अर्थतन्त्रको पुनरुत्थान त्यसमै निर्भर रहन्छ । टालटुल र छलछामले समस्याको समाधान दिनेछैन । तात्त्विक र सादृश्य सुधारबिना पैसाको थैली बोकेर नेपालमा खन्याउन कोही आउनेछैन । हाम्रो राजस्वको कमाइले कर्मचारी पाल्न पनि पुग्न छोडेको छ । विकासका लागि बाहिरी विश्वको विश्वास जित्नुको विकल्प छैन । अहिलेको भ्रष्टाचार प्रकरण कसरी टुंगिन्छ, त्यसले यस्तो विश्वासको ब्यारोमिटरमा पारोको तह धेरै हदसम्म निर्क्योल गर्नेछ ।
दृष्टिकोण
वैराग्य–नैराश्य र सामाजिक शून्यता
- धीरेन्द्र नाल्बो
घामको ताप सहन सकिने दूरीमा बसेको हुनाले मानव र अन्य जीवको जीवन र सभ्यता सम्भव भएको हो । तर तापको अर्थलाई नबुझी जब अझै राम्रो होला भनेर हामी घामनजिक जान्छौं, तब जलेर नष्ट हुन्छौं ।’ देशमा हुने गरेका भ्रष्टाचारलाई इंगित गर्दै सप्तरीका एक वृद्धले भनेको कुरा हो यो । झट्ट सुन्दा यो भनाइ सामान्यजस्तै लाग्न सक्छ, तर घोत्लिएर सोच्यौं भने हामी अहिलेजस्तो सामाजिक डिलमा उभिएका छौं, त्यहाँ यो अत्यन्त अर्थपूर्ण छ । नेपाली समाजमा देखिएको प्रवृत्तिलाई मैले शून्यता, स्वामित्वहीनता र वैराग्य–नैराश्य गरी तीनवटा कोणबाट केलाउने प्रयास गरेको छु ।
व्यक्तिगत र सामाजिक शून्यता शून्यता चिकित्सा विज्ञानसँग सम्बन्धित शब्द हो । स्नायु प्रणाली या अन्य समस्याले गर्दा शरीरका अंग–प्रत्यंगले तातो, चिसो, स्पर्श या दुखाइको अनुभूति गर्न नसक्नु शून्यता हो । अर्को शब्दमा, शरीरको सम्पूर्ण भागले पूर्ण रूपमा काम गर्न छोड्नु । यो शब्दलाई यस लेखमा सामाजिक–राजनीतिक अर्थमा व्याख्या गर्दै म व्यक्तिगत र सामाजिक शून्यता र यसको प्रभावबारे केन्द्रित भएको छु । ऐतिहासिक दृष्टिकोणबाट व्यक्तिगत तथा सामाजिक शून्यता निश्चित कालखण्ड र परिस्थितिसँग गाँसिएको पाइन्छ । कालखण्ड र परिस्थितिलाइ राजनीतिक, सामाजिक, आर्थिक र वैचारिक अवस्थाका रूपमा बुझ्दा सहज हुन्छ । उदाहरणका लागि, श्रीमान्ले श्रीमतीलाई ‘दुईचार थप्पड लाउनु’ लाई एउटा ‘तथ्य’ का रूपमा स्वीकार गरेर यस खालको महिला हिंसालाई सामान्यीकरण गरी व्यक्ति र समाजलाई कुनै पनि अर्थमा नछुनु अर्थात् नपिरोल्नु शून्यतामा परिणत हुनु हो । वर्तमान सन्दर्भमा दलित ‘दलितकै ठाउँ’ मा रहिरहनु या बारम्बार विभेदीकरणमा परिरहँदा जागिर पाउने सवालमा होस् या छुवाछुतमा, व्यक्ति र समाजले अप्ठ्यारो नमान्नु या त्यसविरुद्ध नलड्नु अथवा विद्रोह नगर्नु शून्यताको अर्को उदाहरण हो । उत्पीडित समुदायले आफ्नो अधिकारका निम्ति आवाज उठाउँदा या माग राख्दा कसैद्वारा उचालिएको या असान्दर्भिक भनेर चित्रण गर्नु एक किसिमको सामाजिक शून्यतामा रहनु हो किनकि यस्तो समाजले नयाँ परिवर्तन ल्याउने सम्भावनै हुँदैन । अर्थात्, यथास्थितिमा रहिरहनु नै सामाजिक शून्यताको एउटा विशिष्ट चरित्र हो ।
सामाजिक शून्यतादेखि वैराग्य–नैराश्यसम्म व्यक्तिगत र सामाजिक शून्यताको सबैभन्दा खतरनाक असर भनेको हाम्रो चेतना र विवेकमाथिको ठाडो प्रभाव हो । जब व्यक्ति र समाजमा शून्यताको बलियो पकड हुन्छ, यसले नजानिँदो किसिमले समाजलाई वैराग्य या नैराश्यतर्फ धकेलिरहेको हुन्छ । यस्तो अवस्थामा विवेक र चेतनाको विकास या परिवर्तनको सम्भावना क्षीण हुन्छ । यस सन्दर्भमा यहाँ मैले वैराग्यको अर्थ यसरी लगाएको छु— हरपल दिक्क महसुस गर्नु, समाज अर्थात् पराईसँग केही लिनुदिनु नहुनु या नलिनु/नलाग्नु । नैराश्यको अर्थचाहिँ— परिवर्तनको झिनो अपेक्षा या राख्दै नराख्नु जहाँ न आफू परिवर्तनको संवाहक बनिन्छ न त समाजबाटै आशा राखिन्छ । वैराग्य एवं नैराश्यका धेरै उदाहरण हामी देख्न–सुन्न पाउछौंÙ जस्तो— राजनीतिक दलका नेताहरूलाई इंगित गर्दै फ्याट्ट ‘यिनीहरूले केही गर्दैनन्’ भन्नुÙ ‘नेपाल सतीले सरापेको देश हो’, ‘शक्ति र स्रोत नभएका मान्छेको यहाँ केही हुँदैन’, ‘कडा परिश्रमले भन्दा सोर्सफोर्स लाएर मात्र जागिर पाइन्छ’, ‘जुनसुकै सरकारी कार्यालयमा जाँदा पनि घूस नदिई काम फत्ते हुँदैन’ भन्नु ।
स्वामित्वहीनता केही अपवादबाहेक, सामान्यतया मान्छेले आफ्नो इच्छा र चाहना व्यक्त गर्ने अवस्थादेखि नै आफूलाई ‘सही’ अरूलाई गलत मान्ने, आफ्नो गल्ती ढाकछोप र भरसक अर्कोमा थोपर्ने अनि आफू अरूभन्दा अगाडि बढ्ने प्रयास गर्छ । यस्तो प्रयास गरिरहँदा व्यक्तिविशेष अन्याय तथा अनैतिक बाटो अनुसरण गर्न पनि पछि पर्दैन । यस्ता गलत आचरणहरूलाई निरुत्साहित तथा दण्डित गर्न समाज र राज्यले लिखित–अलिखित नीति तथा कानुनहरूको व्यवस्था गरेका हुन्छन् । तर जब व्यक्ति आफ्नो भलो तथा फाइदाका निम्ति कदम चाल्छ, तब उसले लिखित–अलिखित व्यवहार, नीति तथा कानुनसँग द्वन्द्व निम्त्याउँछ । यस द्वन्द्वले व्यक्तिगत तथा सामाजिक विवेकको चित्रण र स्वरूपको निर्धारण गर्छ जुन समग्र देशको भविष्यसँग जोडिएको हुन्छ । यस सन्दर्भमा स्वामित्वलाई मैले जिम्मेवारीसँग जोडेर हेर्ने प्रयास गरेको छु । मेरो परिभाषामा स्वामित्व भनेको आफ्नो निर्णय, कार्य र कदमको पूर्ण जिम्मेवारी लिनु हो । स्वामित्वहीनतालाई यसको ठ्याक्कै उल्टो अर्थात् आफ्नो कार्य, निर्णय र कदमको पूर्ण जिम्मेवारी नलिई पन्छिनुको अर्थमा प्रयोग गरेको छु । भाषिक रूपमा, स्वामित्वहीनता नेताहरूका भाषणदेखि दैनिकजसो आउने समाचारसम्म देख्न पाइन्छ । उदाहरणका लागि, ‘संवैधानिक परिषद्को बैठक बोलाइएको छ’ भन्ने समाचार शीर्षकलाई लिन सकिन्छ । झट्ट हेर्दा स्पष्टजस्तो देखिन्छ तर एक छिन सोच्दा कसले बोलाएको होला भन्ने प्रश्न आउँछ । योभन्दा पनि अझै महत्त्वपूर्ण पक्ष भनेको, ‘बोलाइएको’ ले अप्रत्यक्ष या नजानिँदो पाराले जवाफहीनताको बाटो लिन्छ । बैठक बोलाउने निकाय प्रस्ट नभएपछि उक्त बैठक भए–नभएको बारे जनचासो हुँदा कसलाई सोध्ने ? स्वतः थाहा नहुने भयो । नीति तथा कानुनमा स्पष्ट भए पनि, धेरैजसो कार्यालयमा फाइल कोठाकोठा डुलाउँदै हस्ताक्षर लिनुपर्ने बाध्यतालाई कर्मचारीहरूको जिम्मेवारी र स्वामित्वका रूपमा लिने कि गैरजिम्मेवारी र स्वामित्वहीनताका रूपमा ? यो पनि बहसको विषय हो । नेताहरूका भाषणमा ‘गरिँदैन,’ ‘भनिँदैन,’ ‘मानिँदैन,’ ‘सकिँदैन’ लगायतका शब्दहरू पाइन्छन् । अपनत्वविहीन तथा जिम्मेवारीविहीन यस्ता शब्दहरूको चयन गर्ने प्रवृत्तिले जानी–नजानी समाजलाई स्वामित्वहीनताको संस्कारतर्फ घचेटिराखेको छ । ती शब्दको साटो अपनत्व र स्वामित्व जनाउने ‘भन्दिनँ,’ ‘गर्दिनँ,’ ‘मान्दिनँ,’ ‘सक्दिनँ’ लगायतको प्रयोग नगर्नुको तात्पर्य के होला ? तर आश्चर्य के छ भने, सडक, खानेपानी योजनाहरू राम्ररी सम्पन्न भएको अवस्थामा चाहिँ ‘मेरो पालामा’ या ‘मैले गरेको’ भनेर गर्वसाथ स्वामित्व लिने गर्छन् नेताहरू !
शून्यता एवं वैराग्य–नैराश्य ः व्यक्तिगत र सामाजिक प्रभाव ती सप्तरीवासी वृद्धको भनाइलाई जोड्दा, व्यक्तिगत र सामाजिक शून्यता र वैराग्य–नैराश्य र स्वामित्वहीनताको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव हाम्रो चेतना, विचार र विवेकमा हुने गर्छ । हाम्रो चेतना र विवेकमा दैनिक बोलचाल, व्यवहारदेखि संवेदनशील घटनाहरूसम्म नजानिँदो पाराले सामान्यीकरण भइराखेका हुन्छन् । यसलाई बेलैमा हस्तक्षेप या सम्बोधन नगरे हाम्रो विवेक, चेतना र बुझाइले यसलाई सामाजिक यथार्थका रूपमा स्विकार्छ, जुन समाजका लागि प्रत्युत्पादक तथा हानिकारक हुन्छ । हामीले धेरै क्रियाकलापलाई सामान्यीकरण गरिसकेका छौंÙ जस्तै— भ्रष्टाचार, महिलामाथि दुर्व्यवहार, दलित र अन्य उत्पीडित समुदायप्रति अन्याय, अख्तियारको दुरुपयोग, झुटो बोलीवचन । उदाहरणका लागि, सहरमा जहाँ ‘नो पार्किङ’ लेखिएको छ, हामी त्यहीँ सवारीसाधन पार्क गर्छौं । जहाँ ‘नो यु टर्न’ चिह्न छ, त्यहीँ यु टर्न गर्छौं । व्यवहार या लेनदेनमा जानीजानी असम्भव प्रतिबद्धता गर्छौं । ‘चिया खाने’ खर्च भनेर भ्रष्टाचारलाई प्रश्रय दिन्छौं, तर भन्छौं— ‘कमर्चारी पूरै भ्रष्ट छन्,’ ‘भ्रष्टाचारले आजित भएँ,’ ‘यो समाज यस्तै हो, कहिल्यै सुध्रिँदैन ।’ ‘नेताहरू खत्तम छन्, चोर हुन्’ भन्छौं तर आफैं नमस्ते गर्दै उनीहरूको पछिपछि कुद्छौं । भन्नुको अर्थ, गैरकानुनी, अनैतिक र अधोगतिका क्रियाकलापहरूलाई हामी सामाजिक तथ्य तथा यथार्थका रूपमा स्वीकार गर्छौं । यस अवस्थाले हामीलाई नजानिँदो पाराले वैराग्य–नैराश्यमा डुबाई स्वामित्वहीनताको संस्कारतर्फ धकेलिरहेको हुन्छ जुन व्यक्ति र समाजको सकारात्मक विकास तथा परिवर्तनका लागि ठूलो तगारो हो । नेपाली समाजको वर्तमान अवस्था शून्यता, स्वामित्वहीनता र वैराग्य–नैराश्यका चारित्रिक विम्बहरूले मात्र भरिएको छ भन्नेचाहिँ पक्कै होइन । झट्टै हेर्दा नदेखिने सुषुप्त तर अत्यन्तै गम्भीर प्रश्नहरूबारे थप छलफल होस् भन्ने यस लेखको उद्देश्य हो । उदाहरणका लागि, हाम्रो समाजमा निराशा छाउनुको मुख्य कारण के हो ? किन हामी बारम्बार अनैतिक हुनमा, कानुन मिच्नमा रमाउँछौं या यसो गर्दा आफूलाई बहादुर ठान्छौं ? किन नागरिकले चाहेको जस्तो परिवर्तन हुन सकिराखेको छैन ? व्यक्तिगत रूपमा होस् या सामाजिक, हामीले किन आफूलाई सुधार्न सकिराखेका छैनौं ? किन आफूले गरेको कामको स्वामित्व लिनसमेत सकिरहेका छैनौं ? यी प्रश्नहरूको उत्तर पाउन त्यति सजिलो त छैन तर आत्मजागरुकता, निरन्तर आत्मालोचना र नियमित आत्मपरीक्षणबाट सुरुआत गरे राम्रो होला कि ?
दृष्टिकोण
यौन हिंसाको मारमा दाम्पत्य जीवन
- अमृता अनमोल
बुटवलकी जुनाको पेटमा नौ महिनाको शिशु थियो । पेट बढेर सुत्न मात्र होइन, सास फेर्नसम्म गाह्रो हुन्थ्यो । तर, सुत्केरी हुने दिनसम्म पति गणेशले निरन्तर यौनसम्बन्ध राखे । सुत्केरीको ११ दिनपछि पनि पुनः पोर्न साइटको भाव र आसन अनुसार यौनसम्बन्धमा बाध्य पार्न थाले । सुत्केरीमा यौनसम्बन्ध राख्दा हुने पीडा र रत्तस्रावले जुना शिथिल हुन थालिन् । आफ्नै पति दैत्य, आफ्नै घर र ओछ्यान यातनागृहजस्तै बने । हरेक रात कालरात्रिसरह भयो । सहनै नसकेपछि जुनाले माइतीको शरणमा गएर गत मंसिरमा इलाका प्रहरी कार्यालय, बुटवलमा घरेलु हिंसाविरुद्ध उजुरी दिइन् । अझै मुद्दा टुंगिएको छैन । जसरी पनि पतिबाट उन्मुक्ति खोजेको तर छोराछोरीको मायाले सम्बन्धविच्छेद गर्न नसकेको जुना बताउँछिन् । लुम्बिनी प्रदेश सरकारको वस्तुस्थिति विवरणमा ६ प्रतिशत महिला गर्भावस्थामा पतिबाट हिंसामा परेको उल्लेख छ । पतिबाट हिंसा भोग्ने २४ प्रतिशत महिला छन् । जुना तिनैमध्येकी हुन् । रूपन्देहीको जानकीनगरकी सुनीताले पनि पतिको यौन हिंसा सहन नसकेर बुटवल प्रहरीमै घरेलु हिंसाविरुद्ध उजुरी दिएकी रहिछन् । सुनीताका अनुसार, पति श्याम यौन उत्तेजनामा आउँदा चिथोर्ने, चिमोट्ने वा दबाउने गर्थे । सुनीता पीडाले रुन थालेपछि मात्रै उनी सन्तुष्ट हुन्थे । क्रमशः उनले कार्यालय जाने बेला र दिउँसो समेत यौन सम्बन्ध राख्न थाले । सुनीताले रोग हुन सक्ने भन्दै मनोचिकित्सककहाँ जान आग्रह गरिन् । तर, पति मानेनन् । त्यसपछि आफन्तको सहयोगमा घरेलु हिंसाविरुद्ध उजुरी हालेकी रहिछन् । ‘उसको अँगालो र ओछ्यान यति हिंस्रक थियो कि दैत्य बनेर आउँथ्यो र लुट्थ्यो,’ सुनीताले पीडा पोखिन्, ‘यौनका नाममा यति पीडा दियो कि संवेदनशील अंग मात्र होइन, शरीरभरि कोपरेका, चिथोरेका र टोकेका दाग छन् ।’ यी दुई महिलाका घटनाले हाम्रा ओछ्यानहरू अशान्त, विवादित र हिंस्रक बन्दै गएको पुष्टि हुन्छ । प्रहरीकहाँ पुग्ने घरेलु हिंसाका झन्डै ९० प्रतिशत घटना ओछ्यानबाटै सुरु हुने रहेछन् । लुम्बिनी प्रहरीमा आर्थिक वर्ष २०७४–७५ देखि २०७८–७९ सम्मका पाँच वर्षमा १० हजार ९२७ घरेलु हिंसाका उजुरी परेका छन् । अनुसन्धानकर्ता प्रहरीका अनुसार, तीमध्येका अधिकांश पतिपत्नीबीच यौन असन्तुष्टि, यौन दुर्व्यवहार र यौन विचलनले गर्दा निम्तिएका समस्या छन् । महिला र पुरुषका बीचमा यौनबारे बुझाइ फरक छ । त्यही फरकपनाले समस्या बढाएको छ । प्रहरीसँगै न्यायका लागि अदालत वा मनोवैज्ञानिक परामर्शका लागि जाने महिलामा कतै न कतै यौन विचलन जोडिएको छ । हुन त पछिल्लो समय नेपाली समाज यौनप्रति खुल्दै र उदार बन्दै गएको छ तर यौन शिक्षामा हुनुपर्ने उदारता यौन विचलनका रूपमा देखिन थालेको छ । जोडीमा प्रेमभाव खोज्नुको साटो यौन प्यास खोज्न र मेट्न थालिएको छ । यसले गर्दा मायाप्रेमले रंगिने हाम्रा ओछ्यान अशान्त र विवादित बन्दै गएका छन् । प्रेम हिंसामा परिणत भएको छ । यसकै कारण सम्बन्धविच्छेद हुने क्रमसमेत बढेको छ । भनिन्छ, यौन व्यवहारका लागि आफ्ना इच्छा तथा यौन क्रियाकलापबारे खुलेर एकअर्कासँग कुरा गर्ने वातावरण हुनुपर्छ । दुवैले एकअर्काका शरीर र भावना बुझ्नुपर्छ । विडम्बना, हाम्रो समाजमा अधिकांश महिला आफ्ना पतिको यौन प्रस्ताव नकार्ने वा आफ्नो असहमति राख्न सक्ने अवस्थामा छैनन् । असहमति राखिहाले दुर्व्यवहार सहन बाध्य छन् । यसैले हरेक रात आफ्नै पतिबाट आफ्नै ओछ्यानमा महिलाहरू चुपचाप बलात्कृत भइरहेका छन् । रसपूर्ण दाम्पत्य यौन व्यवहार नीरस बन्दै गइरहेको छ । असन्तुष्टि र विचलनले पतिपत्नीबीचको यौनसम्बन्धलाई हिंसामा परिणत गरिदिएको छ । दाम्पत्य जीवन विग्रहतर्फ र व्यक्ति अपराधकर्मतर्फ उन्मुख भइरहेका छन् । सामान्यतया जोडीबीच एकआपसमा स्वीकृत विधिबाट गरिने यौन क्रियाकलापको आनन्द यौन व्यवहार हो । दाम्पत्य सम्बन्धमा समेत कसैले आफूलाई दबाब दिएको अनुभूति गर्छ भने त्यो यौन दुर्व्यवहार हो । यौनेच्छा हरेक व्यक्तिमा फरकफरक हुन सक्छ । इच्छा नहुँदा इच्छा नभएको कुरा भन्न पाएमा मात्र यौन व्यवहार राम्रो हुन्छ । नत्र पतिपत्नीबीचको सम्पर्क पनि बलात्कार हुन्छ । इच्छाविरुद्ध भएको भए पतिपत्नीबीचको सम्पर्क बलात्कार हुने कानुन हाम्रो देशमा पनि छ । तर, कानुन बने पनि ओछ्यानमा पतिपत्नीबीचको यौनसम्बन्ध पीडादायी बन्न छोडेको छैन । यौन व्यवहार व्यक्तिको नियन्त्रणबाहिर जानु विचलन हो । त्यो पीडाजनक यौन व्यवहार, यौन दुर्व्यवहार, शोषण र बलात्कारका रूपमा देखिने गर्छ । फलस्वरूप व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुन्छ । कामको थकान, घरायसी कामको बोझ र छोराछोरीको कारणले होला, पुरुषमा भन्दा महिलामा यौन रुचि कम हुन सक्छ । पतिपत्नीबीच यौन रुचि नभए, सन्तुष्टि नभए वा कसैमा विचलनको भाव आए समस्या केलाएर उचित समाधान खोज्नुपर्ने हो । तर, कतिपय विवाहित जोडी यसैलाई समस्या बनाएर विवाहेतर सम्बन्धमा लागेका हुन्छन् । आफूहरूबीचको समस्याको समाधान नखोजी विवाहेतर सम्बन्धमा लाग्नु ठूलो यौन विचलन हो । शारीरिक बनोटका कारण पुरुषले चाहेमा जसरी पनि यौन सन्तुष्टि लिन सक्छन् । यसैमाथि हाम्रो समाज पितृसत्तात्मक छ । यसले महिलालाई सधैं संवेगरहित वस्तुजस्तो व्यवहार गर्न उद्दत गरेको छ । व्यक्तिका असीमित यौन चाहना हुने तर स्वीकृत यौन व्यवहार कम हुने कारणले पनि यौन विचलन जन्मन्छ । महिलालाई यौन प्यास मेट्ने माध्यम ठान्ने पितृसत्तात्मक मान्यता दोषी छ । सामाजिक र सांस्कृतिक रूपमा रहेको लैंगिक भेदभाव र पुरुषप्रधान सभ्यता पनि उत्तिकै जिम्मेवार छ । यौनलाई पुरुषका हकमा बहादुरी र महिलालाई चरित्रहीनताका रूपमा हेरिँदा पनि विकृत मानसिकता बढेको छ । अपसंस्कृतिको सिको, अश्लील तस्बिर तथा भिडियो र लागूपदार्थको सहज उपलब्धताका कारण कतिपय व्यक्तिमा यौन विचलनतर्फ बढेको छ । नशामा रहँदा हरेक समय यौन उत्तेजना हुने र त्यस्तो उत्तेजना घरपरिवारभित्र वा बाहिर पोख्ने गरेका छन् । यौन विचलन व्यक्तिको मानसिक विकार पनि हो । मानसिक रूपमा स्वस्थ व्यक्तिमा यौन विचलन आउँदैन । उसले यौन दुर्व्यवहार गर्नु अपराध हो भन्ने अनुभूति गर्छ । यसर्थ कुनै व्यक्तिमा यौन विचलन देखिए उपचारमा लाग्न जरुरी छ । यौन व्यवहार रसपूर्ण पारिवारिक जीवन व्यतीत गर्न ऊर्जा दिने महत्त्वपूर्ण प्रक्रिया हो ।
दृष्टिकोण
बुद्ध–ज्ञानभित्रको मनोचिकित्सा विज्ञान
- डा. अजय रिसाल
मतिम्रो मरेको छोरालाई बचाइदिन त सक्छु तर तिमीले मलाई अहिलेसम्म कुनै मान्छे नमरेको घरबाट चारवटा तोरीको गेडा ल्याइदिनुपर्छ ।’ पाँचवर्षे छोराको मृत्युका कारण भावविह्वल भएकी कुशा गौतमीलाई यसो भनेर बुद्धले पठाइदिएका थिए । तिनी खुसी अनि उत्साहित भएर अतालिँदै विभिन्न घरमा पुग्दा तोरीको गेडा दिन तयार नभएका त कोही पनि थिएनन्, तर बुद्धको सर्त मुताबिक ‘कुनै मान्छे नमरेको’ घर भने कतै पाइनन् । अन्ततः बुद्धकै शरण पर्न आइन् तिनी । यसरी बुद्धले छोराको असामयिक मृत्युका कारण चरम शोकमा रहेकी नारीलाई ‘मृत्युको शाश्वत सत्य’ को यथार्थबोध गराइदिएका थिए । यस्तो थियो बुद्धले गर्ने गरेको मनोचिकित्साको अनुपम अभ्यास । यस्ता अनेकौं उदाहरण पाइन्छन् बुद्ध जीवनीमा । कुनै भारीभरकम शब्दको प्रवचन या नैतिक शिक्षा दिएजस्तो नगरेर प्रयोगात्मक तवरमै, सम्बन्धित व्यक्तिलाई आफैं सहभागी बन्न लगाएर नै ती व्यक्तिका उदासीनता, अवसाद, शंका, भ्रम, द्विविधा अनि मानसिक क्लेष, क्षोभ सबै दूर गराइदिने अद्वितीय क्षमता थियो बुद्धमा । अन्ततः मानसिक चिन्ताग्रस्त व्यक्तिहरू केही न केही अन्तर्दृष्टि पाएर उनकै संघमा समाहित हुन पुग्थे । अर्थात्, बुद्ध–ज्ञानभित्र मनोचिकित्सा विज्ञानको महासागर नै छ । मात्र डुबुल्की मार्न सक्नुपर्छ, पौडी खेल्न जान्नुपर्छ । अब बुद्धले कठोर तपस्यापछि प्राप्त गरेका ज्ञानका आधारमा प्रतिपादन गरेका चार आर्यसत्यको विवेचना गरौं । ‘सबैतिर दुःख छ’ । अर्थात्, सुखको भोगाइ क्षणिक मात्र हो, हाम्रो जीवनमा आइरहने दुःख नै स्थायी हो । त्यसैले, संसारमा रोग हुनु नै पहिलो सत्य हो । ‘दुःखको कारण छ’ । अर्थात्, अज्ञान नै दुःखको मूल हो । त्यस्तै, जुनसुकै रोगका पनि कारकतत्त्वहरू हुन्छन् नै । ‘दुःख निरोध गर्न सकिन्छ’ । अर्थात्, सबै रोगको रोकथाम पनि गर्न सकिन्छ । तिनको उपचार संम्भव छ । ‘दुःख निरोध गर्ने यथार्थ मार्ग छ ।’ अर्थात्, रोगबाट बच्ने अनि त्यसको उपचार गर्ने उपायहरू अवश्य छन् । सारांशमा, रोग (दुःख) को वास्तविकता, त्यसका कारकतत्त्व, त्यसको फैलावट अनि त्यसको निरोध एवं उपचारका मार्गहरूको अध्ययन, अनुशीलन अनि यथार्थपरक रूपमा परिपालन गर्न सकियो भने त्यसबाट मुक्ति सम्भव छ । ‘रोगको पहिचान या निदान गर । यसका कारकतत्त्वबाट दूर रहने प्रयास गर । यसको रोकथाम गर्ने उपाय गर । रोग लागी नै हाले पनि उपलब्ध प्रविधि या सेवा प्रयोग गरेर यथोचित उपचार गर ।’ भैषज्य गुरुका रूपमा मानिएका बुद्धले चार आर्यसत्यका रूपमा रोग निवारणका यिनै उपाय देखाएका छन् । बौद्ध संस्कृतिमा स्वास्थ्य उपचारका सूत्रहरूको पनि विशद व्याख्या भएको पाइन्छ । यसमा विविध रोगहरूका कारण, प्रकृति एवं लक्षणहरू, उपचारका विभिन्न विधि एवं औषधि, चिकित्सा आचारका आयाम अनि असल चिकित्सकका गुणहरूको समेत व्याख्या गरिएको छ । रोगीहरूको उपचार गर्ने चिकित्सक, वैद्य, परिचारकहरूको उच्च मूल्यांकन गरेका छन् बुद्धले । वृद्ध, रोगी अनि मृतकहरूसितको साक्षात्कारबाटै राजकुमार सिद्धार्थलाई राजपाट त्यागेर संन्यासको मार्गतिर लाग्ने प्रेरणा मिलेको थियो । त्यही प्रेरणाले नै उनलाई अन्ततः बुद्धत्व दिलाएको थियो । बौद्ध दर्शनमा बुद्धलाई योग्य चिकित्सक, धम्म (धर्म) लाई दोषरहित उपचार मार्ग अनि ‘संघ’ लाई उपचार प्रक्रियामा संलग्न समूहका रूपमा दर्साइएको छ । रोगीको हेरचाहमा लाग्ने विशेषज्ञ (चिकित्सक), मनोविमर्शकर्ता, औषधि बिक्रेता, परिवारका सदस्य, साथीसंगी, अनुसन्धानकर्ता, नागरिक समाज, खाद्य परामर्शदाता, सल्लाहकार आदि सबै नै ‘संघ’ को परिधिभित्र पर्छन् । ‘संघ’ मा विचार–विमर्श, छलफल, वादविवाद, अन्तर्संवादका माध्यमबाट आफ्ना शंका–उपशंका, भ्रम निवारण अनि जिज्ञासा समाधान गरेर उपचारको मार्गतिर अग्रसर हुन सकिन्छ । बौद्ध चिन्तनमा ‘मानव स्वास्थ्य (रोग) का लागि विभिन्न कारकतत्त्वले अन्तरसम्बन्धित रूपमा काम गरिरहेका हुन्छन्’ भन्ने मान्यता छ । हामीले मानिआएका जैविक, मनोवैज्ञानिक अनि सामाजिक अवयवहरूमा झैं आर्थिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय, नैतिक अनि आचरणजन्य पक्षहरू पनि जिम्मेवार मानिन्छन् रोगका लागि । त्यसैले बौद्ध मान्यतामा स्वस्थ रहनका लागि ‘आफूभित्रै पहिला, आफ्नो समाज एवं प्राकृतिक वातावरणमा सद्भाव अनि शान्तिको अपरिहार्यता’ को वकालत गरिएको छ । ती रोगहरूको उपचार गर्ने चिकित्सकलाई अष्टांग मार्गको दिशाबोध गराइएको छ । सही दृष्टिकोणले रोगबारे यथेष्ट ज्ञान दिलाउँछ । सही विचारले रोगीप्रति असल मनोवृत्तिको विकास गर्छ । वाणीमा रहने माधुर्यले सही सञ्चारको अनि सही आचरणले उपयुक्त उपचारको मार्गप्रशस्त गर्छ । सही रहनसहनको, सत्प्रयासको, सचेतता अनि ध्यानको पनि आवश्यकता रहन्छ आदर्श चिकित्सकमा । यी सबको सार्थक सम्मिश्रणले नै कर्तव्यबोध गराउँछ चिकित्सकलाई । त्यसैले नै सत्प्रेरणा दिलाउँछ करुणा एवं समानुभूतिसहित रोगीहरूको व्यक्तिकेन्द्रित दृष्टिकोणमा आधारित समग्र उपचारका लागि । धम्मपद (पद १८३) मा असल चिकित्सक बन्नका लागि यस्तो मार्गनिर्देशन गरिएको छ, ‘बिरामीलाई कुनै पनि खराबी नगर्नू, राम्रो मात्र गर्ने प्रयास गर्नू, अनि मन सदा स्वच्छ राख्नू ।’ यी सब हामीले पालना गर्नैपर्ने स्वास्थ्य आचारभित्र नै पर्छन् । वैज्यवातपदका रूपमा उल्लेख गरिएको, स्वास्थ्यकर्मीहरूले गर्नुपर्ने संकल्प पनि हामीले लिने गरेको ‘हिप्पोक्रेटिक’ शपथभन्दा धेरै फरक छैन । बुद्ध–ज्ञानलाई कुनै एक धर्म–सम्प्रदाय भनौं या सांस्कृतिक परम्परालाई ढाक्ने साँघुरो घेराभित्र मात्र सीमित गर्न सकिँदैन । यो त हाम्रो पूर्वीय शिक्षाको महत्त्वपूर्ण निधि हो । यसभित्र सत्यको बोध गराउने दर्शनशास्त्र छ । मानव मन एवं व्यवहारको यथार्थ परिचय दिलाउने मनोविज्ञान छ । मानवीय मूल्यमान्यताको संरक्षण–संवर्द्धनका लागि स्पष्ट दिशानिर्देश गर्ने आचरण भनौं या नैतिक शिक्षा पनि यहीँ नै छ । बौद्ध दर्शनभित्र मनोविज्ञानका विषयवस्तुलाई ‘अभिधर्म’ का रूपमा सङ्गृहीत गरिएको छ । यसमा तीन तथ्य प्रमुख मानिएका छन् । पहिलो, चेतनाको क्रमिक विकासÙ दोस्रो, पाँच ज्ञानेन्द्रिय अनि मनसहितका छ इन्द्रियका माध्यमबाट प्राप्त अनुभूतिलाई मस्तिष्कले धारण गरेपछि हुने संज्ञानात्मक विकासको प्रक्रियाÙ र तेस्रो, भावना, मनस्थिति अनि मनोवैज्ञानिक विकासका लागि आवश्यक अन्य अवयव । यी तीन चरणमा कतै पनि व्यवधान आएमा अथवा कुनै कारणवश यसको कुनै पनि अवस्थामा विकास हुन नसकेमा मानिसमा रोग, अझ भनौं मनोसामाजिक समस्या या मानसिक आघात पर्न सक्ने मान्यता छ बौद्ध चिन्तनमा । अतः मनोचिकित्सा उपचारका लागि पनि यिनै तीन विषयमा ध्यान पुर्याउन आवश्यक छ । बौद्ध मान्यतामा गरिने मनोचिकित्साको अभ्यासमा व्यक्तिको शारीरिक विषयलाई मात्र नभई उसको मानसिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक अनि नैतिक मान्यतालाई पनि ध्यानमा राख्ने गरिन्छ । रोग निदान या उपचारका सामान्य मान्यताहरूभन्दा माथि उठेर व्यक्तिको आत्मिक विकास, आध्यात्मिक पूर्णता अनि सांस्कृतिक संवर्द्धनलाई ध्यानमा राखिन्छ यो प्रक्रियामा । लागूपदार्थ दुर्व्यसनजन्य समस्या, एङ्जाइटी डिसअर्डर, ओसीडी, डिप्रेसन, एनोरेक्सिया, व्यक्तित्वजन्य समस्या अनि एड्स रोग, क्यान्सर, दीर्घ शारीरिक रोग, नसर्ने रोगहरूसँग सम्बन्धित मनोसामाजिक समस्याहरू पनि बौद्ध मान्यतामा आधारित रहेर उपचार हुने गरेका अध्ययनहरूले देखाएका छन् । सचेततापूर्वक गरिने ध्यान (माइन्डफुलनेस मेडिटेसन) पनि हाम्रो बौद्ध दर्शनकै देन हो । आफ्ना विचार एवं भावनाहरूलाई सचेततापूर्वक दृष्टि दिएर आफ्नो संज्ञान, शारीरिक अवस्था अनि दैनिक क्रियाकलापसँग जोडिने प्रयास गर्नु नै यसको मूल मन्त्र हो । उदाहरणका लागि, श्वासप्रश्वासमा ध्यान दिएर बिस्तारै शान्ति अनि अन्तदृष्टितिरको यात्रा गर्न सकिन्छ । यो विधिले थुप्रै मनोसामाजिक समस्यामा सकारात्मक प्रभाव पारेको अन्तर्राष्ट्रिय अनुसन्धानहरूमा देखिएको छ । यसका कारण ‘रोगप्रतिरोध क्षमतामा अनि चेतनाप्रवाह, भावना, संवेदना, संज्ञान एवं चिन्तनमननका लागि महत्त्वपूर्ण मानिएका मस्तिष्कका अंगहरूमा रक्तप्रसारमा वृद्धि हुँदै गएको’ जस्ता वस्तुगत आधारहरूले पनि माइन्डफुलनेस मेडिटेसन पश्चिमी विश्वमा समेत लोकप्रिय बन्दै गएको छ । अतः बौद्ध भैषज्य विधिलाई हाम्रो आधुनिक उपचार पद्धतिका विविध आयामको परिपूरक मानेर प्रयोग गर्ने अभ्यास थाल्न ढिलो भइसकेको छ ।
समाचार
भ्रष्टाचार निवारणसम्बन्धी विधेयक संसदीय समितिमा पठाइँदै
काठमाडौं (कास)– भ्रष्टाचार निवारणसम्बन्धी संशोधन विधेयकलाई संसद्ले दफाबार छलफलका लागि समितिमा पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । ‘हामी समितिमा लैजाने प्रस्ताव पारित गर्नेछौं,’ सांसद रघुजी पन्तले भने, ‘विधेयकका धेरै प्रावधानमा दफावार छलफल गर्नुपर्ने भएकाले समितिमा लैजानैपर्ने अवस्था छ ।’ भ्रष्टाचार निवारणलगायत संसद्मा लामो समयदेखि विचाराधीन केही महत्त्वपूर्ण विधेयकलाई हिउँदे अधिवेशनमा पारित गर्न नसकेपछि संसद्ले आलोचना खेप्नुपरेको थियो । ‘यो विधेयक सरकारले हिउँदे अधिवेशनमै पारित हुने गरी पेस गर्नुपर्थ्यो,’ पूर्वसभामुख सुवास नेम्वाङ भन्छन्, ‘अब यसलाई प्राथमिकतामा राखेर संशोधन प्रस्तावमाथि दफावार छलफल चलाउनुपर्छ ।’ भ्रष्टाचारसम्बन्धी ऐन राज्य व्यवस्था तथा सुशासन समितिको क्षेत्राधिकारभित्र पर्छ । भ्रष्टाचारविरुद्ध जनआक्रोश बढिरहेका बेला विधेयकमाथि विषयगत समितिले नियमित छलफल गरेर सक्दो छिटो पास गर्नुपर्ने नेम्वाङले बताए । विधेयकमा भ्रष्टाचारको पाँचवर्षे हदम्याद, नीतिगत निर्णयमा अख्तियारको प्रवेश नहुने तथा निजी क्षेत्रको अनियमितता अनुसन्धानलाई अख्तियारको क्षेत्राधिकारमा राख्नेलगायतका प्रावधान विवादास्पद छन् । अघिल्लो छलफलमा ३२ सांसदले यी प्रावधान हटाउनुपर्ने तर्क गरेका थिए ।
समाचार
तीन समितिको नेतृत्व एमालेलाई
- जयसिंह महरा
(काठमाडौं) प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र संसद्को ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताले संसदीय समितिहरूको भागबन्डा गरेका छन् । संयुक्त र प्रतिनिधिसभाका गरी १२ वटा समितिमध्ये विपक्षी दल एमालेले तीनवटा र सत्ता गठबन्धन दलले अन्य समितिमा नेतृत्व लिने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको सहमतिअनुसार एमालेले सार्वजनिक लेखा समिति (प्रतिनिधिसभा) र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) मा नेतृत्व गर्नेछ । एमालेका लागि प्रतिनिधिसभाको अर्को समितिको टुंगो लाग्न बाँकी छ । सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने अभ्यास छ । एमालेले अन्य समितिमा पनि नेतृत्व दाबी गर्दै आएको थियो । संसदीय कामकारबाही सहज हुने विश्वासमा सत्ता गठबन्धन दल एमालेलाई अरू दुई समितिको नेतृत्व दिन तयार भएका हुन् । कांग्रेसले संसदीय सुनुवाइ समिति (संयुक्त) मा नेतृत्व गर्नेछ । अन्य समितिमा कुन दलबाट सभापति चयन गर्ने भन्ने विषयमा गठबन्धन दलले सहमति जुटाउनेछन् । बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जेठ ४ सम्म संसदीय सुनुवाइ समिति गठन गरिसक्ने समझदारी भएको जानकारी दिए । त्यसअघि संयुक्त समिति सञ्चालन नियमावली संशोधन गरिसक्ने समझदारी बनेको छ । बालुवाटार बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई कसरी अगाडि बढाउने भन्ने पनि निर्क्योल भएको जानकारी दिए । ‘संसद् अड्किएको जस्तो भएको छ । त्यसै सन्दर्भमा तीन नेताबीच संसद् अगाडि बढाउने गरी ठोस पहल भएको छ,’ उनले भने, ‘संवैधानिक परिषद्सम्बन्धी विधेयकमा असमझदारी देखिएको थियो, यसमा संविधानको मर्मअनुसार पुरानै व्यवस्था राख्नका लागि सहमति भएको छ ।’ सरकारले संसद्मा दर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ मा ६ सदस्यीय संवैधानिक परिषद्मा सर्वसम्मतिले निर्णय नहुँदा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष र ३ जना सदस्य सहमत भएमात्रै निर्णय हुने व्यवस्था राखिएको थियो । संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) ऐन, २०६६ मा पहिलो बैठकबाट सर्वसम्मतिले निर्णय गर्नुपर्ने व्यवस्था छ । सहमति जुट्न नसके दोस्रो बैठक बोलाउनुपर्ने र त्यसमा पनि सर्वसम्मतिले ‘निर्णय हुन नसकेको विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्को बैठक बोलाउन लगाउने र त्यस्तो बैठकको सहमतिले सो विषयमा निर्णय गरिने’ भनिएको छ । तर त्यस्तो बैठकमा पनि सहमतिबाट निर्णय हुन नसके परिषद्का सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय हुनेछ । यो व्यवस्था नै पुनः कायम गरिए प्रधानमन्त्रीबाहेकका ४ सदस्य एकमत भए पनि संवैधानिक परिषद्बाट निर्णय हुनेछ । संसद्मा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद्मा अगाडि बढाउने प्रक्रियाबारे पनि ती दलका नेताले समझदारी गरेका छन् । प्रतिनिधिसभा बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिमा पठाएको संक्रमणकालीन न्याय सम्बन्धित यो विधेयकलाई सोही समितिअन्तर्गत उपसिमिति गठन गरेर टुंगो लगाउने सहमति भएको नेम्वाङले जानकारी दिए । संसदीय मामिलाका जानकारहरू भने संसद्मा विचाराधीन विधेयकका विषयमा तीन नेताले मिलेर निर्णय गर्नु अस्वाभाविक भएको बताउँछन् । यसले संसदीय व्यवस्था र सांसदहरूको साख गिराउने उनीहरूको टिप्पणी छ । संसद्का पूर्वसचिव मुकुन्द शर्माले तीन नेताले संसद्मा विचाराधीन विधेयकमाथि नै निर्णय गर्नु र सांसदहरूले त्यसैलाई पारित गर्नुले संसद्प्रति जनआस्था गिर्ने बताए । ‘संसद्भन्दा बाहिर कुनै पनि किसिमको प्रक्रियागत कुरा गरिएको छ भने त्यो संसद्ले चिन्दैन । त्यसरी निर्णय गर्नु भनेको संसद्को अपमान हो,’ उनले भने, ‘संसद्मा आएका विषयमा तीन जना नेताले बाहिर निर्णय गरेर जस्ताको तस्तै आफ्ना सांसदमार्फत कार्यान्वयन गराउने हो भने त्यत्रो खर्चको के अर्थ ? यो त जनताका सबै प्रतिनिधिले ऐन बनाउँछन् र त्यसअनुसार शासन चल्छ भन्ने जनताको सोचाइसँग मेल खाँदैन ।’ शर्माले जानेर वा नजानेर संसद्को मर्यादा घटाउने काम भइरहेको टिप्पणी गरे । सांसदहरूले तीन नेताका निर्णय जस्ताको तस्तै कार्यान्वयन गर्नेभन्दा पनि विधेयकमाथि व्यापक छलफल गरेर निस्किएको निष्कर्षका आधारमा ऐन निर्माण गरे संसदीय व्यवस्था र जनप्रतिनिधिको मान हुने उनको भनाइ छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आइतबारको छलफलबाट संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ संशोधनका लागि समिति गठन गर्नेबारे सहमति भएको जानकारी दिए । दलहरूबीच भएको सहमतिअनुसार संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा ६ दलको प्रतिनिधित्व हुने भएको छ । तीन नेताहरूको बालुवाटार बैठकपछि सभामुख देवराज घिमिरेले राखेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संयुक्त समितिमा कुन दलबाट कति सांसद रहने भन्ने टुंगो लगाएको थियो । एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट कांग्रेस र एमालेका ५/५, माओवादीका २, रास्वपा, राप्रपा र जसपाका १/१ सांसद रहनेछन् । राज्यका निर्देशक सिद्धान्त समितिमा पनि सोहीअनुसार दलहरूको सहभागिता हुनेछ ।
अर्थ वाणिज्य
एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने
- सजना बराल
(काठमाडौं) मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ १ बाट एमडीएमएस व्यवस्था सञ्चालनमा आउने जानकारी दिएको थियो । यससँगै नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता नगरे ती अवैध मानिनेछन् । दर्ता नगरेको केही अवधिपछि त्यस्ता फोन नचल्नेसमेत हुन्छन् । अर्थात् मोबाइल नेटवर्क सेवा प्राप्त हुँदैन । ‘पहिला प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार एमडीएमएस प्रणालीको कार्यान्वयन रोकिएको थियो,’ प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्र भन्छन्, ‘यसपालि मन्त्रिपरिषद्को पछिल्लो बैठकले यससम्बन्धी समस्या समाधान गरेपछि कार्यान्वयनमा जाने टुंगो भएको हो ।’ प्राधिकरणले यसअघि ०७८ साउन र ०७९ भदौमा पनि एमडीएमएस प्रणाली आंशिक रूपमा लागू गरेको थियो । ०७९ पुस १५ बाट भने पूर्ण रूपमा प्रणाली लागू गर्ने भनिएको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले ल्याएका मोबाइल फोनको पनि कर र भन्सार शुल्क तिर्नैपर्ने व्यवस्थाका कारण यसको व्यापक विरोध भएको थियो । जनस्तरमै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल प्रणाली लागू नगर्न निर्देशन दिएका थिए । त्यसको करिब चार महिनापछि गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेक थप एक अर्थात् दुइटा मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनाएकी थिइन् । प्राधिकरणको सूचनाअनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुन्छन् । दुई वटा फोनमा भन्सार शुल्क नलाग्ने सुविधा विदेशबाट फर्किने जोकसैका लागि भने होइन । भन्सार विभागले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा ६ महिना लगातार काम गरेर फर्किएका नेपाली नागरिकले मात्रै दुई थान मोबाइल फोन ल्याउँदा कुनै पनि महसुल तिर्नुपर्दैन । अन्यले भने एकभन्दा बढी फोन ल्याउँदा व्यावसायिक हिसाबले फोन ल्याएसरह कर तिर्नुपर्छ । फोनको मूल्यका आधारमा २.५ प्रतिशत अन्तः शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, ०७७ बमोजिम विदेशबाट फर्किनेहरूले आफूले प्रयोग गरिरहेको एक थान मोबाइल फोनबारे भन्सार कार्यालयमा जानकारी गराइरहनु नपर्ने कार्यालयले जनाएको छ । त्यस्तो फोन प्राधिकरणको एमडीएमएस प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गराउन सक्ने भनिएको छ । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले थप एक थान मोबाइल फोन ल्याउँदा त्यसबारे आफू आएको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्ने भनिएको छ । विदेशबाट ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंले एमडीएमएसमा दर्ता गर्न राहदानी/नागरिताका साथै आगमन र प्रस्थान छाप देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ । नेपालभित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल एमडीएमएसमा दर्ता भए/नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले प्रयोगकर्तालाई अनुरोध गरेको छ । मोबाइल आयातकर्ता/बिक्रेताले भने मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिनुपर्छ । प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै बिक्री/वितरण गर्न नियामकले निर्देशन दिएको छ । प्राधिकरणका अनुसार हालसम्म २७ हजार थान मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएका छन् । ४० लाख मोबाइल सेटको आईएमईआई नम्बर दर्ता नभएको अनुमान छ । प्रणालीमा दर्ता भएका आईएमईआई नम्बरका आधारमा बनाइएका ह्वाइट, ग्रे र ब्ल्याक लिस्टमध्ये ७९ हजार आईएमईआई ग्रे लिस्टमा रहेको प्राधिकरणका प्रवक्ता मिश्रले बताए । ह्वाइट लिस्ट भन्नाले प्रयोग गर्न पाइने वैध फोन हुन् । ब्ल्याक लिस्टमा चोरी भएका, हराएका, अवैध नम्बर राखिन्छन् । ग्रे लिस्टमा उजुरी परेका र छानबिन हुँदै गरेका आईएमईआई नम्बर (मोबाइल) वर्गीकृत हुन्छन् ।
अर्थ वाणिज्य
२ वर्षमै उदयपुर सिमेन्टमा १ अर्ब ९ करोड भार थपियो
- राजु चौधरी
(काठमाडौं) नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई करिब २ वर्षमै १ अर्बभन्दा बढी बढीको आर्थिक भार थपिएको छ । उद्योगका अवकाशप्राप्त कर्मचारीको सुविधा, विद्युत् महसुल, सरकारी अन्तःशुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस, कोइला खरिदको भुक्तानीलगायत शीर्षकमा एक अर्ब ९ करोडभन्दा बढी भार परेको छ । धेरैजसो समय बन्द रहने उद्योगको अवस्था दयनीय बनेपछि उद्योगका ४ कर्मचारी संगठनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापन बुझाएका छन् । उद्योग बचाइदिन आग्रह गर्दै उनीहरूले गत बिहीबार ज्ञापन बुझाएका हुन् । संगठनहरूले बुझाएको पत्रअनुसार सबैभन्दा बढी नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता छ । प्राधिकरणलाई करिब ३६ करोड बक्यौता तिर्न बाँकी छ । सोही बक्यौता नतिरेपछि प्राधिकरणको गाईघाट शाखाले उदयपुर सिमेन्टको लाइनसमेत काटिदिएको छ । उद्योगको विद्युत् लाइन आइतबार काटिएको प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीले जनाए । ‘विभिन्न समयको करिब ३६ करोड बक्यौता थियो । रकम भुक्तानी गर्न साताअघि पत्र पठाएका थियौं । तर पूर्णरूपमा भुक्तानी भएन,’ उनले भने, ‘त्यही भएर आइतबारदेखि लाइन काटेका हौं ।’ ०७६ सालदेखिकै बक्यौता राखेको उद्योगले भुक्तानी नगरेको भन्दै प्राधिकरणले गत पुसमा पनि पत्र काटेको थियो । प्राधिकरणले त्यति बेला ६० दिनको म्याद दिएको थियो । ‘प्राधिकरण विद्युत् महसुल संकलन विनियमावली ०७८ को विनियम १० अनुसार मिटर रिडिङ गरेको ६० औं दिनसम्म महसुल नबुझाए बिनासूचना जुनसुकै समयमा लाइन काटिनेछ,’ पत्रमा भनिएको थियो । त्यसपछि सिमेन्ट उद्योगले करिब ६ करोड भुक्तानी गरेको थियो । पछिल्लो समय पनि भुक्तानी रोकेपछि साताअघि प्राधिकरणले फेरि पत्र काटेको थियो । ०७७/७८ असार मसान्तसम्मको कोइलाको तिर्न बाँकी ४० करोड र ०७९ चैतसम्मको कोइला र स्पेयर पार्ट्सलाई झुक्तानी गर्न बाँकी ११ करोड ५९ लाख रहेको ज्ञापनमा उल्लेख छ । ‘अवकाशप्राप्त कर्मचारीको सेवा सुविधा मात्रै १४ करोड ५० लाख रुपैयाँ छ । कर्मचारीको नागरिक लगानी कोष (कात्तिकदेखि फागुन) को १ करोड ४९ लाख, कर्मचारी सञ्चय कोष (०७९ साउनदेखि फागुनसम्म) को २ करोड १२ लाखको आर्थिक भार छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘कर्मचारीको बिदा मुआब्जा, सामाजिक सुरक्षा कोष ५७ लाख, सरकारी अन्तःशुल्क र सरकारी रोयल्टीको १ करोड भार छ ।’ यीबाहेक कर्मचारीको टीडीएस, सामान सप्लायर्सको टीडीएसको ७४ लाख र सरकारलाई बुझाउनुपर्ने भ्याट रकम १ करोड १५ लाख रहेको ज्ञापनमा उल्लेख छ । ‘उद्योगको समग्र अवस्था दयनीय नै छ । तर, उद्योग धेरैजसो समय बन्द हुँदा थप समस्या भयो,’ अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पालले भने, ‘मन्त्रीलाई उद्योग चलाएर छिटो निकास दिन आग्रह गरेका छौं ।’ ज्ञापनपत्रका अनुसार आर्थिक वर्ष ०७८/७९ मा १ लाख ३ हजार टन क्लिंकर उत्पादन गरेको उदयपुर सिमेन्टले ०७९/८० को वैशाखसम्म ४९ हजार ५२ टन मात्रै उत्पादन गरेको छ । ०७८/७९ मा २१ लाख ७२ हजार ४ सय १९ बोरा सिमेन्ट बिक्री भएको थियो । तर ०७९/८० वैशाखसम्म ९ लाख २ हजार ८ सय २९ बोरा मात्रै बिक्री भएको छ । यसले पनि उद्योगको अवस्था दयनीय बनेको जानकार बताउँछन् । २१ लाख ७२ हजार बोरा बिक्री गरेकै आधारमा ०७८/७९ मा उद्योगले झन्डै ५ करोड आम्दानी गरेको थियो । उद्योगको शुक्रबार ३५औं वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा ४ करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको देखाइएको छ । उद्योगले ०७७/७८ को तुलनामा ०७८/७९ मा करिब २३ प्रतिशत बढी उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । ०७७/७८ मा १७ लाख ६७ हजार बोरा सिमेन्ट उत्पादन हुँदा ३० करोड नोक्सानी भएकामा ०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरी नाफा भएको जनाइएको छ । तर सञ्चालन खर्च भने घाटामै छ ।
अर्थ वाणिज्य
रसुवागढीमा म्याद थपेको थप्यै
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले पुनः आफ्नो व्यावसायिक उत्पादन मिति सारेको छ । यसै आर्थिक वर्षमा उत्पादन सुरु गर्ने भनेको रसुवागढीले पुनः उत्पादन मिति ३ महिनापछि सारेको हो । १११ मेगावाट क्षमताको नदी प्रवाही आयोजना निर्माण सुरु भएको १२ वर्षसम्म पनि सकिएको छैन । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनामातहत निर्माण भइरहेको यस आयोजनाको तीन महिना म्याद थपिएपछि उत्पादन मिति असोज अन्त्यमा पुगेको छ । ०६८ कात्तिक २८ मा प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको आयोजनाको सुरुवाती उत्पादन मिति ०७६ पुस १५ मा थियो । तर ०७२ को भूकम्पको कारण देखाएर उत्पादन मिति सारेर ०७८ असारमा पुर्याइएको थियो । त्यसपछि ०७७ मा आएको भोटेकोशीको बढीले बाँधलगायत संरचनामा क्षति पुर्याएपछि समयमै आयोजना सक्न कठिनाइ भएको भन्दै कम्पनीले फेरि ०७९ फागुनसम्म उत्पादन मिति सारेको थियो । तर त्यस मितिमा पनि उत्पादन गर्न नसकेपछि समय लम्ब्याएर ०८० असारमा पर्याइयो । तर यस अवधिमा पनि नसकिएपछि अहिले पुनः ३ महिना समय थपिएको छ । रसुवागढी आयोजनाबाट ०७८ असारभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहे पनि ०७७ मा आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलिब्रिजमा क्षति पुगेका कारण उत्पादन समय लम्बिएको आयोजना प्रवक्ता नरनाथ न्यौपानेले जानकारी दिए । बाढीले पहुँचमार्गमा क्षति पुर्याएपछि पनि समयमा उत्पादन गर्न नसकिएको उनको भनाइ छ ।
समाचार
अर्थ संक्षेप
- कान्तिपुर संवाददाता
एनसेलको सीईओमा जाब्बोर कायुमोभ काठमाडौं (कास)– एनसेल आजियाटाले जाब्बोर कायुमोभलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको छ । वैशाख २७ बाट उनले कार्यभार सम्हालेका छन् । कम्पनीको सञ्चालक समिति बैठकको मंगलबार जाब्बोरलाई नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङले आजियाटा ग्रुपको प्रधान कार्यालयमा जुन १ देखि ‘आजियाटा ग्रुप चिफ कर्पोरेट अफिसर’ का रूपमा कार्यभार सम्हाल्दै छन् । जाब्बोरले यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेको आजियटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एसियन पेन्ट्सका ४ ट्रेन्ड घोषणा काठमाडौं (कास)– एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ का अवसरमा यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड) घोषणा गरेको छ । एसियन पेन्ट्स ग्लोबलका ब्रान्ड प्रबन्धक मारिसा रेगो डिसुजाले ती ट्रेन्ड घोषणा गरेकी हुन् । चार ट्रेन्डमा गोथिलिसस, स्लिप सेन्स, एज अफ फरेस्ट र सरोम छन् । उक्त अवसरमा आर्किटेक्ट माधव रमनले कलर अफ द इयरबारे आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल) लगायत संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरको सहभागिता थियो । बजारमा सामसङको ग्यालेक्सी ए–२४ एलटीई काठमाडौं (कास)– नेपाली बजारमा सामसङले ग्यालेक्सी ए–२४ एलटीईको बिक्रीवितरण थालेको छ । कम्पनीले ए–सिरिजमा नयाँ संस्करण थपेको हो । अक्टा–कोर प्रोसेसरजडित फोन ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेमा उपलब्ध छ । ग्यालेक्सी ए–२४ एलटीईमा ५० एमपीको प्राइमरी क्यामेरा जडित छ, जसलाई ५ एमपी अल्ट्रावाइड र २ एमपी म्याक्रो लेन्सले सपोर्ट गरेका छन् । यसमा १३ एमपीको सेल्फी क्यामेरा रहेको कम्पनीले जनाएको छ । ६ प्लस १२८ जीबीको मूल्य २९ हजार र ८ प्लस १२८ जीबीको ३२ हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । उद्योग संगठन मोरङमा सुराना निर्विरोध विराटनगर (कास)– उद्योगीहरूको साझा संस्था उद्योग संगठन मोरङको ५०औं साधारणसभाले शनिबार राकेश सुरानाको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चुनेको छ । २६औं कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, वित्तीय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, ऊर्जा र जलस्रोत उपसभापतिमा भोलेश्वर दुलाल, रोजगार उपाध्यक्षमा विपीन कावरा, कोषाध्यक्षमा सुबोध कोइरालासहित आठ जना सदस्य पनि निर्विरोध छानिएका छन् । सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् । आरजु राइस मिलका जिरा मसिनो र लङग्रेन चामल ललितपुर (कास)– बुद्ध एयरका सञ्चालकले मोरङमा स्थापना गरेको आरजु राइस मिलले नेपाली जिरा मसिनो र लङग्रेन चामल बजारमा ल्याएको छ । मोरङको बेलबारीमा स्थापित आरजु राइस मिलद्वारा पहिलो चरणमा काठमाडौंका लागि बिक्री गर्न सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले दुई किसिमको चामल हालै सार्वजनिक गरे । विदेशी चामल आयातमा भइरहेको बढ्दो व्यापार घाटा कम गर्ने तथा निर्वाहमुखी किसानलाई रूपान्तरण गर्नेलगायत उद्देश्यले मिल सञ्चालनमा ल्याइएको उनले जनाए । आरजु लङग्रेन चामल प्रतिकिलो १ सय ३० र जिरामसिनो एक सय रुपैयाँ दरमा २०/२० किलोग्रामको प्याकमा काठमाडौं उपत्यकामा ल्याइएको उनको भनाइ छ । नेक्सन ईभी म्याक्स बजारमा काठमाडौं (कास)– टाटा मोटर्सले विद्युतीय गाडी नेक्सन ईभी म्याक्स नेपाली बजारमा बिक्रीवितरण थालेको छ । यो गाडी नेक्सन ईभीको विस्तारित स्वरूपमा छ । ७.२ किलोवाट चार्जिङ रहेको गाडीको बजार मूल्य ४६ लाख ४९ हजार रुपैयाँ छ । ‘उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडीमा ४०.५ किलोवाट प्रतिघण्टा क्षमता भएको लिथिएम ब्याट्री जडान गरिएको छ,’ टाटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसको ब्याट्री क्षमता अन्यको भन्दा ३३ प्रतिशतले बढी छ ।’ बजारमा बेलाको ब्रान्डका विद्युतीय सामान काठमाडौं (कास)– बेलायती ब्रान्ड बेलाको होम अप्लाइन्सेसका विद्युतीय सामग्री नेपाली बजारमा आएका छन् । आईकेबीएच ग्रुपले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको होम अप्लाइन्सेन्स नेपाली बजारमा भित्रिएको जनाएको हो । आईकेबीएच ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल बसिदले एक कार्यक्रमबीच बेलाकाको ब्रान्डका विद्युतीय सामान र उपकरणको शुभारम्भ गरे । बेलाकोले सामग्रीको गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएको छ । नियोटेरिक र टेक स्टुडियोको साझेदारी घोषणा काठमाडौं (कास)– प्राविधिक विकासमा अझ सशक्त भूमिका निर्वाह गर्ने लक्ष्यसहित नियोटेरिक नेपाल र टेक स्टुडियो प्रालिले साझेदारी घोषणा गरेका छन् । नियोटेरिक नेपाल र टेक स्टुडियो प्रालिबीच नयाँ संयुक्त उद्यम सिर्जना गर्न सम्झौतासमेत भएको छ । सम्झौताअनुसार टेक स्टुडियो र नियोटेरिक नेपाल अब संयुक्त रूपमा स्मार्टवेयरेबर र अन्य सामानमा प्रविधिको विकासमा केन्द्रित हुनेछन् । नियोटेरिक नेपाल नोकिया, डेल, आसुसजस्ता ब्रान्डको आधिकारिक वितरक हो । टेक स्टुडियो भने सहायक उपकरण र स्मार्ट पहिरनयोग्य वस्तुहरूको आयातकर्ता हो ।
खेलकुद
जावलाखेल बराबरीमै
- कान्तिपुर संवाददाता
(काठमाडौं) सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबले च्यासल रंगशालामा आइतबार मनाङ मर्स्याङ्दी क्लबविरुद्ध दुई गोलको अग्रता लिएर पनि तीन अंक जोड्न सकेन । मनाङले अन्त्यतिर दुई गोल गर्दै खेल २–२ मा टुंग्यायो । यससँगै जावलाखेलले तीन अंकको अग्रता लिने अवसरमात्रै गुमाएन, चर्च ब्वाइज युनाइटेडलाई अगाडि बढ्ने मौका पनि दिएको छ । जावलाखेल १८ खेलमा नौ जित, चार बराबरी र पाँच हारको नतिजासहित ३१ अंक बनाएर पहिलो वरीयतामा कायमै रह्यो । तर, मनाङविरुद्धको बराबरीले एक खेल कम खेलेको चर्च ब्वाइजलाई जावलाखेललाई उछिन्दै शीर्षस्थानमा उक्लिने अवसर दिएको छ । आठ जित, ६ बराबरी र तीन हार खेल्दै ३० अंकसहित दोस्रोमा रहेको चर्च ब्वाइजले मंगलबार सातदोबाटो युवा क्लबलाई पराजित गर्नसके शीर्षस्थान उक्लनेछ । मनाङ (५ जित, ७ बराबर, ६ हार) २२ अंकसहित सातौंमा रहेको छ । सातौं चरणपछि लय गुमाएको मनाङले मुख्य प्रशिक्षक विष्णु गुरुङको नेतृत्वमा पहिलो जितमा रहेको स्थितिमा जावलाखेलविरुद्ध राम्रै सुरुआत गरेको थियो । बलमाथि पकड उसैको थियो । तर, विनोद केसीले पेनाल्टी क्षेत्रअगाडि दिएको बलमा मनाङका गोलकिपर दीप कार्कीको बचाउ राम्रो भएन । उनले अगाडि बढ्दै क्लियर गर्ने प्रयासमा प्रहार गरेको बल सिधै जावलाखेलका फरवार्ड एन्कोतो मासोबीको खुट्टामा पुग्यो र उनले प्रहार गरेको बलले पोस्टको दिशा लिएपछि ३४ औं मिनेटमा जावलाखेल १–० ले अगाडि बढ्यो । योसँगै उनले लिगमा सर्वाधिक १३ गोल गरेका खुमलटारका मेसुके ओलोमोउसँग गोल संख्या बराबरी गरे । पछाडि परे पनि मनाङले खेलमा फर्कने प्रयास गरिरह्यो । केही अवसर पनि सिर्जना गर्यो । कोफी टिमोथी कौडेको हेडरमा गोलकिपर अनिश देउजाले दुईपल्ट उत्कृष्ट बचाउ गर्दै जावलाखेलको संकट टारिदिए । दोस्रो हाफमा जावलाखेलले आक्रामक रूप लियो । मनाङका डिफेन्डरले क्लियर गर्ने प्रयासमा बल फोडे फोफनाको खुट्टामा दिएपछि जावलाखेलले ७५ औं मिनेटमा अग्रता दोब्बर बनायो । फोफनाको सटीक क्रस गोलकिपर दीपलाई उछिन्दै बल खाली पोस्टअगाडि हिसुब थपलियाको खुट्टामा पुग्यो र हिसुबले गोललाइननजिकबाट बललाई हल्का छुँदै गोलमा परिणत गर्दै जावलाखेलाई बलियो अवस्थामा पुर्याए । दोस्रो हाफमा दुई खेलाडी परिवर्तन गरेपछि जावलाखेलको प्रदर्शन फितलो बन्यो । उसलाई मनाङले दबाबमा राख्न थाल्यो । यही क्रममा कोफीको पासमा सब्स्टिच्युट विसोन गुरुङले उत्कृष्ट ‘भली गोल’ गर्दै ८१ औं मिनेटमा गोल अन्तर छोट्याए । सुमित श्रेष्ठले इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट लोभलाग्दो गोल गरेपछि खेल २–२ मा टुंग्याउँदै मनाङले जावलाखेलविरुद्ध अंक खोस्यो । अन्तिम मिनेटमा रोशन रानामगरले पाएको अवसरमा बल गोलकिपर अनिशको हातमा नदिएको भए खेलको कथा अर्कै हुन सक्थ्यो । ‘खेलाडी परिवर्तन गरेपछि पहिलाका खेलमा राम्रो भइरहेको थियो, आज (मनाङविरुद्ध) त्यस्तै गर्दा राम्रो प्रदर्शन भएन,’ जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले भने, ‘राम्र्रै खेलेको हो । २–० को अग्रता लिएर पनि जित्न नसक्दा अलिकति दुःख त भइहाल्छ ।’ ‘डबल लिग’ को पहिलो भेटमा जावलाखेलले मनाङलाई ३–० ले हराएको थियो र उक्त खेल पनि च्यासलमै भएको थियो । मनाङका प्रशिक्षक गुरुङले भने, ‘हामीले राम्रो प्रदर्शन गर्यौं । बराबरी गर्दै अंक पनि जोड्यौं । प्रदर्शनअनुसार हेर्ने हो भने योभन्दा राम्रो गर्न सक्थ्यौं । टिमलाई अभ्यस्त हुन अझै समय लाग्न सक्छ ।’ उनले किरण श्रेष्ठले राजीनामा दिएपछि मनाङका टिम सम्हाल्ने अवसर पाएका हुन् ।
एनआरटी २–२ फ्रेन्ड्स
दशरथ रंगशालामा एनआरटी र फ्रेन्ड्सबीच भएको प्रतिस्पर्धा पनि २–२ मा टुंगियो । फ्रेन्ड्सले रफिक अमिनुको गोलमा २८ औं मिनेटमा अग्रता लिएको थियो । अमित तामाङले ५८ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । अमितले ६६ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि फ्रेन्ड्स फेरि २–१ ले अघि बढ्यो । एनआरटीले पनि ८० औं मिनेटमा पेनाल्टी पायो । तर, जिन एनिसेट एम्बोमी गोल गर्न असफल रहे पनि निकोलस सेर्गे सोङले ८९ औं मिनेटमा गोल गर्दै एनआरटीलाई २–२ को बराबरीमा पुर्याए । एनआरटीको २२ र फ्रेन्ड्सको २० अंक भएको छ ।
खेलकुद
सिटी लिग उपाधितर्फ
- कान्तिपुर संवाददाता
लन्डन (एएफपी)– इलकयी गुन्डोगनको दुई गोल मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार एभरटनलाई ३–० ले पराजित गरेको छ । यो जितसँग डिफेन्डिङ च्याम्पियन लिग उपाधि रक्षातर्फ उन्मुख भएको छ । लिगमा तीन चरणका खेल बाँकी छँदा सिटीलाई चार अंकको अग्रता छ । सिटीको ३५ खेलबाट ८५ अंक भएको छ । समान खेल खेलेको आर्सनलको ८१ अंक रहेको छ । तीन खेलमध्ये दुईमा जित निकालेमा सिटीले लगातार तेस्रो वर्ष लिगको उपाधि जित्नेछ । उसको अन्तिम तीन खेल चेल्सी, ब्राइटन र ब्रेन्टफोर्डविरुद्ध रहेको छ । यस सिजनमा सिटी तीन उपाधिको नजिक छ । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा सिटीले १–१ को बराबरी स्थितिमा रियल म्याड्रिडविरुद्ध घरेलु मैदानमा खेल्दै छ भने जुन ३ मा एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ । सिटीले पछिल्ला १२ लिग खेल नै जितेको छ भने २२ खेलमा अपराजित छ । जर्मन मिडफिल्डर गुन्डोगनले ३७ औं मिनेटमा सिटीको खाता खोले । त्यसको दुई मिनेटपश्चात् इर्लिङ हालान्डले अर्को गोल थपे । यस सिजनमा यो उनको ५२ औं गोल हो । गुन्डोगनले नै ५१ औं मिनेटमा सिटीबाट तेस्रो गोल थपे । हारले एभरटनमाथि रेलिगेसन तनाव कायम रह्यो । एभरटनको ३२ अंक छ र रेलिगेसन क्षेत्रबाट एक अंकको दूरीमा १७ औं स्थानमा रहेको छ । उसका दुई खेल मात्र बाँकी छन् । आइतबारको अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २–० ले हरायो । ब्रेन्टफोर्डको ५३ अंक भएको छ र नवौं स्थानमा उक्लेको छ । वेस्ट ह्याम भने ३७ अंकमा १५ औं स्थानमा रहेको छ ।
रियलको जित म्याड्रिड– स्पेनी ला लिगामा भ्यालेन्सियाले आइतबार सेल्टा भिगोलाई २–१ ले हराएको छ । खेल सकिन दुई मिनेट अगाडि अल्बर्टो मारीले निर्णायक गोल गरे । त्यस अगाडि रियल म्याड्रिडले शनिबार गेटाफेमाथि १–० को झिनो अन्तरको जित निकालेको थियो । मार्को एसेन्सोले खेलको एक मात्र गोल गरेका थिए र यससँगै रियलको उपाधि रक्षा गर्ने गणितीय सम्भावना कायम रह्यो । यसै साता रियलले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्दैछ । त्यसैलाई ध्यानमा राखेर प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्ना दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेका थिए ।
खेलकुद
राजस्थान ५९ रनमै अलआउट
- कान्तिपुर संवाददाता
जयपुर (एजेन्सी)– वायन पार्नेलको घातक बलिङ मद्दतले रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिगमा आइतबार राजस्थान रोयल्समाथि १ सय १२ रनको जित निकालेको छ । यो जितपछि बेंग्लारेको १२ अंक भयो र पाँचौं स्थानमा उक्लेको छ । राजस्थान भने समान १२ अंकमा छैटौं स्थानमा झर्यो । जितका लागि १ सय ७२ रनको लक्ष्य पाएको राजस्थान १०.३ ओभरमै ५९ रन बनाएर अलआउट भयो । उसका आठ ब्याटर दोहोरो अंक छुन असफल रहे । सिमरन हेटमायरको ३५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उसका दुवै प्रारम्भिक ब्याटर यशस्वी जैसवाल र जस बटलर शून्यमै आउट भए । पार्नेलले १० रन दिएर तीन विकेट लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे । यस्तै माइकल ब्रेसवेल र कर्ण शर्माले २–२ विकेट लिए । त्यस अगाडि पहिले ब्याटिङ गरेको बेंग्लोरले पाँच विकेट गुमाई १ सय ७१ रन बनाएको थियो । त्यसमा कप्तान फाफ डे प्लेसिसले ५५ र ग्लेन म्याक्सवेलले ५४ रन बनाए । विराट कोहलीले प्लेसिससँग पहिलो विकेटका लागि ५० रनको साझेदारी गरे । त्यसपछि प्लेसिसले म्याक्सवेलसँग थप ६९ रनको साझेदारी गरे । दक्षिण अफ्रिकी ब्याटर प्लेसिसले तीन चौका र दुई छक्का प्रहार गरे । अस्ट्रेलियाली म्याक्सवेलको ब्याटबाट भने पाँच चौका र तीन छक्का निस्केका थिए । प्रभसिमरन सिंहको पहिलो शतक मद्दतले पञ्जाब किंग्सले शनिबार दिल्ली क्यापिटल्समाथि ३१ रनको जित निकाल्यो । यो जितले पञ्जाबको प्लेअफ सम्भावना कायम रह्यो भने प्रतियोगितामा दिल्लीको चुनौती समाप्त भएको थियो । ओपनर प्रभसिमरनले ६५ बलमा १ सय ३ रन बनाए र पञ्जाबले सात विकेटमा १ सय ६७ रन बनाएको थियो । पछि प्रभसिमरनले ३० रनमा चार विकेट पनि लिए र दिल्ली आठ विकेट गुमाएर १ सय ३६ रनमा अलआउट भयो । यो नतिजापछि पञ्जाबको १२ अंक भएको छ र छैटौं स्थानमा उक्लेको छ । लगातार कमजोर प्रदर्शन गरिरहेको दिल्ली भने आठ अंकमै सीमित रहेर १० टिममध्ये सबैभन्दा पुछारमा रह्यो ।
खेलकुद
नेपालको महिला क्रिकेट टोली घोषणा
- कान्तिपुर संवाददाता
काठमाडौं (कास)– नेपालले मलेसियाविरुद्ध हुने पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखलाका लागि आइतबार १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । दुई सातापछि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसिया भ्रमणमा जाँदै छ । रुविना क्षेत्रीको कप्तानीमा रहने नेपाली महिला टोलीमा सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, संगीता राई, विन्दु रावल, ममता चौधरी, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासिनी, सम्झना खड्का, सोनु पाख्रिन, ईश्वरी विष्ट, सृष्टि जैसी, सरस्वती चौधरी रहने नेपाल क्रिकेट संघले जनाएको छ । नेपालको प्रशिक्षकमा सामसनजंग थापा रहेका छन् । मलेसिया र नेपालबीच मे २९, मे ३०, जुन १, जुन ३ र जुन ४ मा मलेसियास्थित वाईएसडी–यूकेएम ओबलमा खेल हुनेछ ।