करका दरमा फेरि पनि शंका
अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणपूर्व संसद् र सार्वजनिक कार्यक्रममा करको दर हेरफेर नगर्ने, गरिहाले कुनै व्यवसायी विशेषका लागि नहुने र अनियमिततासमेत हुन नदिने बताउने गरेका थिए । तर, उनले सार्वजनिक प्रतिबद्धताविपरीत विवादास्पद रूपमा करको दर हेरफेर गरेका छन् ।
कतिपय दर निश्चित व्यावसायिक घरानालाई फाइदा पुग्ने गरी परिवर्तन गरेका छन् भने कतिपय व्यवसायीलाई उल्टो असर पार्ने नीति अघि सारेका छन् ।
विनियोजन विधेयकमार्फत अर्थमन्त्री महतले सांसदहरूलाई बजेट दिने गरी विवादास्पद संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्युँताएका छन् । यस्तै प्राकृतिक स्रोत संरक्षणको सट्टा दोहन गर्ने गरी ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने अर्को विवादास्पद कार्यक्रम अघि सारेका छन् । खस्किरहेको सेयर बजारलाई सुधार गर्नुको साटो थप असर गर्ने नीति लिएका छन् । निम्न र मध्यम वर्गीयका लागि खास कार्यक्रम ल्याउन नसकेका अर्थमन्त्री महतले उच्च वर्गले प्रयोग गर्ने विद्युतीय सवारीसाधनको कर घटाइदिएका छन् । मध्यम वर्गले प्रयोग गर्ने सवारीसाधन महँगो बनाउने र इन्धनमा चल्ने सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति सबैभन्दा बढी विवादास्पद बनेको छ, जसको चौतर्फी विरोध पनि भइरहेको छ ।
नीति तथा कार्यक्रममा सार्वजनिक स्थलमा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने भनेको सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सार दर र अन्तःशुल्क बढाइदिएको छ । अर्थमन्त्री महतले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक सवारीदेखि धेरै उपभोक्ताले खरिद गर्ने ५० देखि सय किलोवाटसम्म क्षमताका सवारीसाधनमा थप ५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएको छ । यसअघि १० प्रतिशत भन्सार दर मात्रै थियो ।
चालु वर्षको बजेटमा काठमाडौं उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी तथा सार्वजनिक सवारीलाई क्रमशः विद्युतीय सवारीमा परिणत गर्ने व्यवस्था मिलाइने उल्लेख छ । पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले विस्थापित गर्ने सरकारको नीति छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ०७७/७८ मा विद्युतीय सवारीमा कर बढाउने नीति अघि सारेका थिए । उनले भन्सार र अन्तःशुल्क बढाउँदा ०७६/७७ को तुलनामा विद्युतीय सवारी आयात घट्यो । त्यसलाई ०७८/०७९ को बजेटमार्फत हटाइयो ।
चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पुनः विद्युतीय सवारीको भन्सार दर र अन्तःशुल्क बढाए । २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ३० र अन्तःशुल्क ३० प्रतिशत कायम भयो । गत आर्थिक वर्ष यो १५/१५ प्रतिशत थियो । यस्तै ३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क ४५ र अन्तःशुल्क दर पनि ४५ प्रतिशत कायम छ । गत वर्ष अन्तःशुल्क र भन्सार दर ३०/३० प्रतिशत थियो । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री महतले ११ देखि १४ सम्म सिट क्षमता भएका विद्युतीय माइक्रो बसको भन्सार दर र अन्तःशुल्क १०/१० प्रतिशत पुर्याएका छन् । यसअघि भन्सार दर १ प्रतिशत मात्रै थियो । अर्थमन्त्री महतको यो नीति सर्वोच्च अदालतले दिएको आदेशविपरीत छ । सर्वोच्चले वायु प्रदूषण नियन्त्रण गर्ने गरी मात्रै करको दर तोक्न सरकारलाई परमादेश दिइसकेको छ ।
सर्वोच्चले ‘स्वच्छ वातावरणको हकको सहज उपयोग गर्ने वातावरण सिर्जना गर्न अलग्गै कार्ययोजना बनाउन’ पनि सरकारका नाममा परमादेश जारी गरेको छ । वातावरण प्रदूषणमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको योगदान अत्यधिक बढी रहने र विद्युतीय सवारीसाधनको ज्यादै न्यून रहने भन्दै सर्वोच्चले ‘विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेर विद्युतीय सवारीलाई निरुत्साहित गर्ने’ सरकारको नीति उचित नभएको उल्लेख गरेको छ । ‘नेपाल सरकारको विद्युतीय सवारीसाधनमा भन्सार शुल्क र अन्तःशुल्क वृद्धि गर्ने उक्त निर्णयले नेपालको संविधानमा सुनिश्चित गरिएको स्वच्छ वातावरणसम्बन्धी हकमा आघात पर्ने देखियो,’ अदालतले गत महिना सार्वजनिक गरेको फैसलामा भनिएको छ ।
सरकारले भन्सार र अन्तःशुल्क बढाएर सर्वोच्च अदालतको परमादेशलाई अवहेलना गरेको अधिवक्ता शशि बस्नेतले बताइन् । ‘सरकारले वातावरण र मौलिक अधिकारसँग जोडिएको मुद्दामा स्पष्ट कर नीति
लिएन, आम सर्वसाधारणदेखि लगानीकर्तालाई झुक्याउने काम गरेको छ,’ उनले भनिन्, ‘राज्य भुइँमान्छेप्रति अनुदार देखियो ।’
पूर्वऊर्जामन्त्री पम्फा भुसालले पनि अहिलेको सन्दर्भमा अर्थमन्त्री महतले गलत आर्थिक नीति अघि सारेको बताइन् । ‘सार्वजनिक यातायातमा भन्सार दर घटाएर थप प्रोत्साहन दिई ठूला गाडीहरू धेरै मात्रामा भित्र्याउने गरी करका दरहरू तय गर्नुपर्ने थियो । तर, उल्टो नीति अघि सारिएछ,’ उनले भनिन्, ‘डलर खरिद गर्ने र त्यसले डिजेल/पेट्रोलका सवारीदेखि इन्धन बाहिरिने प्रवृत्तिलाई विद्युतीय सवारीले मात्रै निरुत्साहित गर्न सक्छ । त्यसका लागि कर घटाउनुपर्छ ।’ नेपालको धेरै खर्च डिजेल–पेट्रोलमा हुने भएकाले आफ्नै उत्पादन विद्युत् प्रयोग गर्ने सवारीलाई प्रोत्साहित गर्ने नीति ल्याउनुपर्ने भुसालको भनाइ छ । ‘तर विद्युतीयमा कर बढ्यो । यो राम्रो आर्थिक नीति होइन,’ उनले भनिन् । अन्तर्राष्ट्रियस्तरमा नेपालले गरेका प्रतिबद्धता पूरा गर्न पनि सरकारले विद्युतीय सवारीलाई जोड दिनुपर्ने उनको भनाइ छ ।
दिगोका प्रबन्ध निर्देशक राजन रायमाझी विद्युतीय सवारीको व्यवसाय फस्टाउन सुरु भएको अवस्थामा सरकारले उल्टो नीति लिएको बताउँछन् । ‘अहिलेसम्म यस्तो बजेट आएकै थाहा छैन,’ उनले भने, ‘साना व्यवसायी पनि आकर्षित हुने र आम सर्वसाधारणले चढ्ने गाडीमा भन्सार बढाइएको छ, यो अकल्पनीय छ ।’ डिजेल र विद्युतीयमा ५/७ लाखसम्म फरक हुँदा विद्युत्मा आकर्षण देखिएको तर अब १०/१५ लाखको फरक हुने भएपछि विद्युतीय सार्वजनिक सवारीतर्फ चासो नहुने देखिएको रायमाझीले बताए । उनका अनुसार सार्वजनिक साधनका रूपमा प्रयोग बढ्दै गएको विद्युतीय माइक्रोबस पहिला ४५ लाख रुपैयाँमा बिक्री हुने गरेकामा अब ५५ लाख रुपैयाँ पर्नेछ । यसले इन्धनबाट चल्ने सवारीसाधनलाई नै प्रोत्साहन गर्ने व्यवसायीहरूको दाबी छ ।
विद्युतीय सवारीलाई प्रवर्द्धन गर्नेबारे सरकारकै निर्णय विरोधाभासपूर्ण रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ईभी समिति सभापति तथा व्यवसायी राजनबाबु श्रेष्ठ बताउँछन् । सरकारले भन्सार दर र अन्तःशुल्क बढाउँदा बामे सर्न लागेको उद्योग फेरि शून्य अवस्थामै पुग्ने उनको चिन्ता छ । ‘निजी क्षेत्रबाट चार्जिङ स्टेसन, जनशक्तिलगायत निर्माण भइरहेको थियो, सरकारको यस्तो नीतिका कारण निजी क्षेत्रले अब लगानी गर्न सक्दैन,’ उनले भने, ‘मूल्य बढेपछि बिक्री कम भइहाल्छ । सरकारको नीति ठीक भएन ।’ कर बढेपछि सय किलोवाटसम्मका गाडीमा २० प्रतिशत मूल्य बढ्ने र कर घटाएकामा २५ प्रतिशत मूल्य घट्न सक्ने उनले बताए । ‘थोरै किलोवाटका महँगो हुने भए बिक्री हुँदैन, ठूला किलोवाटका गाडीको मूल्य नै महँगो छ, बिक्री नै हुन सक्दैन,’ उनले भने ।
सर्वसाधारणले चढ्ने गाडीमा सरकारले कर बढाउन नहुने नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् । ‘विद्युतीयलाई प्रवर्द्धन यथार्थमा हुन सकेन, निजी गाडी व्यक्तिले किन्ने हो । जोसँग पैसा छ, उसैले किन्थ्यो । त्यसमा गरिएको कर घटबढले केही समस्या भएन,’ उनले भने, ‘तर सरकारले सर्वसाधारण चढ्ने गाडीमा पनि कर बढाइयो । यो मान्य छैन ।’
अर्थमन्त्री महतले भने कुनै पक्षलाई मात्र फाइदा हुने गरेर बजेट नल्याइएको दाबी गरेका छन् । ‘बजेट निर्माण गर्दा देशको हित र व्यवसाय फैलियोस् भन्नेबाहेक कुनै उद्देश्य राखिएको छैन,’ उनले भने, ‘यसका साक्षी कर्मचारी साथीहरू हुनुहुन्छ ।’ विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने सरकारको उद्देश्य रहेको उल्लेख गर्दै उनले विद्युतीय सवारीमा कर बढाएर निरुत्साहित गर्न खोजियो भन्नु झूट रहेको दाबी गरे । ‘पेट्रोलियम पदार्थमा आधारित निजी सवारीदेखि सार्वजनिक सवारीसम्म छन्,’ उनले भने, ‘निजी सवारीमा झन् ३ सय प्रतिशतसम्म कर लगाइएको छ, त्यसको तुलनामा विद्युतीय सवारीमा नगण्य छ ।’ तुलनात्मक रूपमा विद्युतीय गाडी निकै सस्तो रहेको र त्यसलाई थप व्यवस्थित मात्र गर्न खोजिएको महतले बताए ।
कृषि सामग्रीमा करको भार
आर्थिक विधेयकमा कृषि क्षेत्रमा प्रयोग हुने कुटो, कोदालोदेखि झाडी छाट्ने कैंचीसम्मको भन्सार दर बढाइएको छ । एक हातले चलाउने कैंची र कोदालो १ प्रतिशत भन्सार दरमा भित्रिरहँदा अब ५ प्रतिशत भन्सार महसुल तिर्नॅपर्ने भएको हो । बन्चरो, खुर्पा, गैतीलगायत सामानको पनि सरकारले भन्सार बढाएको छ । जबकि यी सामग्री कृषि क्षेत्रमा दैनिक प्रयोग हुने गर्छन् ।
यस्तै, सरकारले कृषि सामग्रीको मूल्य बढाएर व्यापारीलाई पोस्ने काम गरेको छ । ५ प्रतिशत भन्सार दर तिरेर ल्याइरहेका कृषि सामग्रीको मूल्य १० प्रतिशत पुर्याइएको छ । सरकारले चिनी, सक्खर, मिश्री, सुगरक्युबलगायत चिनीजन्य पदार्थमा भन्सार दर घटाएको छ । यसअघि ४० प्रतिशत भन्सार दर लाग्दै आएकामा अब ३० प्रतिशत भन्सार दर तिरे पुग्छ । सरकारले चिनी र चिनीजन्य पदार्थमा भन्सार घटाएर आयातलाई प्रोत्साहन गरेको देखिएको हो । जबकि नेपाली किसानको उखु चिनी उद्योगले प्रयोग नगर्ने, नेपालमा उत्पादित चिनीले भारतीय चिनीसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।
बहिखाता, बुक कभर्स, मेनिफोल्ड बिजनेस फर्महरूको दोब्बर भन्सार महसुल बढाइएको छ । यसअघि १५ प्रतिशत भन्सार दर थियो । अब यी वस्तु थप महँगिनेछन् । सरकारले पाउपोश, प्लास्टिक वा रबरको बाहिरी तलुवा र हिलमा २० प्रतिशत भन्सार दर पुर्याएको छ । यसअघि १० र १५ प्रतिशत भन्सार महसुल थियो । अन्य रंगीन टीभी आयातमा छुट दिँदा धेरै आयात हुने भएको छ । जसले गर्दा व्यापारीलाई भारी फाइदा हुन्छ । रंगीन टीभी आयातमा ३० प्रतिशत रहेकामा २० प्रतिशत कायम गरेको छ ।
ताजा वा चिसो पारेका मासु, जीवित माछाजन्य वस्तुको अन्तःशुल्क हटाउँदा यो थप सस्तो हुने र आयात बढ्ने भएको छ । यस्तै, सरकारले अनएसेम्बल अवस्थाका सवारीसाधनको अन्तःशुल्क बढाएको छ । जसले गर्दा आयातित सवारीमै आकर्षण बढ्छ । एसेम्बल उद्योगहरू थप मारमा पर्ने भएका छन् । एसेम्बल उद्योगलाई हालसम्म सरकारले दिएको सेवासुविधा पनि खेर जाने सम्भावना छ ।
आफैंले आलोचना गरेको कार्यक्रम ब्युँतियो
अर्थमन्त्री महतले विवादास्पद रूपमा अघि सारेको अर्को कार्यक्रम ढुंगा, गिट्टी निकासीसम्बन्धी हो । महतले सोमबार ल्याएको बजेटको बुँदा नम्बर १५७ मा वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुंगा र गिटी निकासी गर्न आधार तयार गरिने उल्लेख छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले चुरेबाट नदीजन्य पदार्थ निकासी गर्ने बताएपछि चौतर्फी विरोध भएसँगै निर्णय सच्याइएको थियो । २०७८ सालमा ओली सरकारले ल्याएको उक्त नीतिको विरोध अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालले समेत गरेका थिए । उनले ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीति राष्ट्र र जनविरोधी निर्णय भएको बताएका थिए । उक्त नीति कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने योजनाको हिस्सा भएको दाहालको भनाइ थियो । तर त्यही विवादास्पद कार्यक्रमलाई यो सरकारले फेरि ब्युँताएको छ ।
पाटन बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं वातावरणविद् राजु चौहान ढुंगा, गिट्टी निर्यात भन्ने प्रावधान बजेटबाटै हटाउनुपर्ने बताउँछन् । वातावरणीय परीक्षण गरेर निकासी भन्ने शब्दले शंका उब्जाएको उनको भनाइ छ । ‘वातावरणीय परीक्षण गरेर निकासी गर्ने भनेको छ तर त्यसको अनुगमन कसले गर्ने ? वातावरणीय परीक्षण कर्मकाण्डी मात्रै छ,’ उनले भने । धरान उपमहानगरपालिकाका पूर्ववातावरण निरीक्षकसमेत रहेका उपप्राध्यापक चौहानका अनुसार अधिकांश स्थानीय तहमा वातावरणीय परीक्षणले भनेअनुसारको ढुंगा, गिट्टी उत्खनन भएका छैनन् । सरकारको यो निर्णयले चुरे क्षेत्रमा भूक्षय, बाढी, भूमिगत पानी सुक्नेलगायतका समस्या आउने बताए ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता गर्न माग गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम वातावरणीय, आर्थिक र सामाजिक कुनै पनि दृष्टिकोणले मुलुकको हितमा नरहेको नेफेजले जनाएको छ ।
सरकारले २०७१ असार २ मा चुरे विनाश र त्यसमा आश्रित सर्वसाधारणलाई परेको समस्या न्यूनीकरण गर्न २०७१ साउन १ गतेदेखि लागू हुने गरी चट्टान, माटो, ढुंगा, गिट्टी र बालुवाको विदेश निकासीमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । संसदीय समितिको सिफारिसलाई आधार मानेर उक्त निर्णय गरिएको थियो । संसदीय समितिको प्रतिवेदनमा नदीजन्य पदार्थ बाह्य निकासी खुला गर्दा यस्ता पदार्थको अत्यधिक दोहन भएको र यसले वातावरणमा प्रतिकूल असर पार्नॅका साथै राज्यले प्राप्त गर्ने राजस्वभन्दा त्यस्ता पदार्थ उत्खनन, प्रशोधन र ढुवानी गर्दा क्षति पुगेका भौतिक संरचना मर्मत सुधार गर्न कैयौं गुणा खर्च लागेको उल्लेख थियो ।
सरकारको भित्री उद्देश्य चुरेबाटै ढुंगा, गिट्टी निकासी गर्ने देखिएको नेफेजले जनाएको छ । ‘उत्खननका लागि यसअघि सरकारले पहिचान गरेका अधिकांश स्थान चुरे क्षेत्रमा नै परेका छन् । यसका लागि सरकारले रकम
छुट्याएको जानकारी दिएको छ,’ नेफेजकी अध्यक्ष रोशनी अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘चुरे विनाश हुनेबित्तिकै तराई र भित्री मधेशको भूभाग तीव्र गतिमा मरुभूमीकरण हुन्छ र मधेशको समग्र जनजीवन नै प्रभावित हुन्छ ।’
सांसदलाई बजेट खारेजीको दबाब
अर्थमन्त्री महतले विवादास्पद रूपमा अघि सारेको संघीय सांसदको निर्वाचन क्षेत्रकेन्द्रित कार्यक्रम पनि विवादमा परेको छ । कर्मचारीलाई तलब खुवाउनदेखि नियमित प्रशासनिक खर्च धान्न मुस्किल परिरहेका बेला अर्थमन्त्री महतले सांसदको तजबिजी रहने गरी हरेक निर्वाचन क्षेत्रका छुट्टै आयोजनालाई निश्चित रकम छुट्याइने ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को नाम परिवर्तन गरेर ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ बजेटमा राखेका हुन् । सामाजिक सञ्जाल र विभिन्न कार्यक्रममार्फत जानकार व्यक्तिले यो कार्यक्रम दुरुपयोग भएर बन्द गरिएको उल्लेख गर्दै पुनः सुरु गर्नु गलत भएको बताएका छन् । यो कार्यक्रम खारेज हुनुपर्ने उनीहरूको माग छ । तर अर्थमन्त्री प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल भने यसको प्रतिरक्षामा छन् ।
अर्कातर्फ स्थानीय जनप्रतिनिधि, समानुपातिक सांसददेखि संसद्कै उपसभामुखले समेत यो कार्यक्रम ब्युँताइएकामा विरोध गरेका छन् । बजेट निर्माणका क्रममै सांसद विकास कोष महिला तथा समानुपातिक सांसदमैत्री नभएको उपसभामुख इन्दिरा राना मगरले बताएकी थिइन् । ‘अर्थमन्त्रीसँगको भेटमा बजेटको कमी भए सांसद विकास कोष नल्याए भइहाल्यो भनेकी थिएँ । काट्नै नहुने बजेट शीर्षक नकाटेर सांसद विकास कोष काट्नुस् भनेकी हुँ,’ उनले भनिन्, ‘हिमाली जिल्लाहरूमा खाद्यान्न डिपो नहुँदा त्यहाँका बासिन्दा भोकै बस्नुपरेको छ, सुरक्षाकर्मीलाई पर्याप्त तलब छैन, सडक बालबालिकाको हेरचाह र संरक्षण छैन, त्यताको बजेट काट्नुभन्दा सांसद विकास कोषका लागि रकम नछुट्याउनुस् भनेकी हुँ ।’
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल कार्यकर्ता पोस्ने गरी ल्याइएको यो कार्यक्रम संघीयताको मर्मविपरीत रहेको बताउँछिन् । ‘माननीयलाई नीतिगत तहमा काम गर्नका लागि जनताले माननीयलाई चुनेर पठाएका हुन् । उहाँहरू नीति निर्माणको तहमै केन्द्रित हुनुपर्छ,’ उनले भनिन्, ‘खुद्रा बजेट वितरण राम्रो पनि होइन । सांसद कोषबाट खर्चिएको बजेट दुरुपयोग भएका गुनासा धेरै छन् ।’ घरघरमा सरकार भनेर स्थानीय सरकारको अवधारणा आएको उल्लेख गर्दै उनले खुद्रे कामका लागि संसद् विकास कोषलाई ब्युँताउनु कुनै अर्थमा राम्रो नरहेको बताइन् ।
सांसद विकास कोषका लागि बजेट छुट्याउनु आफ्नो योजना नभई बाध्यता रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘सांसद विकास कोष हाम्रो योजना होइन । तर बाध्यता भयो । यसलाई कार्यविधि बनाएर व्यवस्थित गरिनेछ,’ सिंहदरबारस्थित पार्टी संसदीय दलको बैठकमा मंगलबार उनले भने, ‘यसका लागि सबैतिरबाट दबाब आएको थियो ।’ तर दबाब कसले दिएको भनी उनले किटान गरेनन् ।
अर्थमन्त्री महतले भने सांसद विकास कोषको बचाउ गरेका छन् । ‘यो सांसद विकास कोष होइन, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम हो,’ अर्थ मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसलाई पहिलाकै हिसाबले हेरिएको छ तर यो सिधै सांसदले पाउने र आफ्ना किसिमले खर्च गर्ने मोडलमा छैन ।’ १ सय ६५ निर्वाचन क्षेत्रमा केही न केही योजना पुगून् भनेर यो कार्यक्रम राखिएको उनको भनाइ छ ।
दुई वर्षअघिकै कार्यक्रमलाई नाम परिवर्तन गर्दै अर्थमन्त्री महतले आर्थिक वर्ष ०८०/८१ को बजेटमा सांसद विकास कोषलाई निरन्तरता दिएका हुन् । बजेट दुरुपयोग भयो भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजु निकाल्नुका साथै आमसर्वसाधारणबाट समेत राष्ट्रिय ढुकुटी जथाभावी खर्च गरिएको भन्दै विरोध भएपछि यो कार्यक्रम तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/७९ को बजेटमार्फत खारेज गरेका थिए । त्यसअघि सांसदले आफूखुसी खर्च गर्न पाउने गरी प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना छनोटका लागि सरकारले रकम विनियोजन गर्दै आएको थियो । अर्थमन्त्री महत भने सांसदले खल्तीमा हाल्ने नभई योजनाकेन्द्रित रकम हुने भएकाले निर्वाचित सांसदलाई शंका गर्नु उपयुक्त नभएको बताउँछन् । ‘यसमा पूरै खर्च राम्रोसँग होस्, दुरुपयोग नहोस्,’ उनले भने ।
यसअघि आर्थिक वर्ष ०७७/७८ मा प्रत्येक निर्वाचन क्षेत्रका लागि ४ करोड रुपैयाँ छुट्याइएको थियो । त्यसको अघिल्लो वर्ष ०७६/७७ मा ६ करोड विनियोजन गरिएको थियो । अहिले फेरि सांसदले ५ करोड रुपैयाँ पाउने व्यवस्था गरिएको हो ।

![कान्तिपुर दैनिक [Kantipur Daily]](https://epaper-beta-jscdn.ekantipur.com/images/logo/kantipur.png)











