You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

नाबालिगलाई रात्रिक्लब र होटल प्रवेशमा नियमन खोइ ?

रात्रिकालीन र मनोरञ्जन व्यवसायमा लगाइएको उमेरहदको प्रभावकारी कार्यान्वयन नहुादा बालिकामाथि यौनहिंसा र दुर्व्यवहारका शृंखला बढ्दो
- विद्या राई

(काठमाडौं)
ठमेलस्थित नाइट क्लब एलओडी पुगेकी १५ वर्षीया किशोरीमाथि बलात्कार भएको घटनामा आरोपित पक्राउ परिसकेका छन् । नाबालिगलाई बिनासर्त होटल तथा रात्रिक्लबमा प्रवेश दिएको र त्यसपछि यौनहिंसा भएको यो पहिलो घटना होइन । बारम्बार जघन्य घटना हुँदा पनि उमेर हदसम्बन्धी कानुन कार्यान्वयनको सुरुवात नै भएको छैन ।
प्रहरीले क्लबका सञ्चालकलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । तर, एसईई दिएर काठमाडौं घुम्न आएकी नाबालिग कसरी नाइट क्लबसम्म पुगिन् र क्लबले किन प्रवेश दियो भन्ने प्रश्न अनुत्तरित छ ।
उदयपुरकी ती किशोरी कोटेश्वरस्थित आफन्तकहाँ बस्दै आएकी थिइन् । गत जेठ ३१ मा एलओडी पुगेकी उनलाई एक वयस्क पुरुषले मदिरा खुवाएपछि आफ्नै गाडीमा राखेर ललितपुरको बागडोल पुर्‍याएका थिए । त्यहीं रहेको कार्यालयमा उनले आफूमाथि बलात्कार गरेको किशोरीको भनाइ छ । घटनापछि उनले आफन्तलाई फोनमार्फत जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीसम्म सूचना पुग्यो, प्रहरी घटनास्थल पुग्दा आरोपित भागिसकेका थिए । ‘चार घण्टापछि मात्रै पक्राउ गर्न सफल भयौं,’ ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीले भने । उनका अनुसार आरोपित कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ । कोइराला बागडोलमा रहेको पश्चिमाञ्चल सोलुसन प्रालिका सञ्चालक एवं व्यवस्थापक हुन् ।
प्रहरीले एलओडीका सञ्चालक राजुसिंह सुवाललाई बिहीबार र अर्का सञ्चालक रुदिल बल्लभ श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको छ । ‘नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा पक्राउ गरेका हौं,’ प्रवक्ता कार्कीले भने, ‘किशोरी कोसँग क्लब पुगिन् भनेर खोजी गर्‍यौं तर आफन्तसँग नगएको बुझिएको छ । उनी पीडामा भएकाले थप केरकार गरेनौं, पछि खुल्दै जाला ।’ किशोरीलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
‘बालबालिका ऐन २०७५’ ले १८ वर्ष पूरा नगरेकालाई बालबालिका भनी परिभाषित गरेको छ । बालबालिकालाई धूमपान, मद्यपान वा जुवातासजस्ता कुलतमा संलग्न गराउने, बालिगका लागि खोलिएका डान्सबार, क्यासिनोजस्ता मनोरञ्जनस्थलमा प्रवेश वा प्रयोग गराउने, बालिगका लागि तोकिएका चलचित्र, अन्य श्रव्यदृश्यजस्ता सामग्री देखाउने कार्यलाई बालबालिकाविरुद्धको हिंसा मानिन्छ । सो कसुर गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय तोकिएको छ । यसैगरी, बालबालिकालाई मनोरञ्जनजन्य जादू वा सर्कसमा लगाउनेलाई ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद हुन्छ । ‘होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३’ होटल सञ्चालकले सेवा लिन आएका ग्राहकको नाम, नागरिक, पेसा, आएको मिति र ठेगानासमेतको विवरण लेखाउनुपर्छ । १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि होटल, रेस्टुराँ वा भट्टी पसलका सञ्चालकले मदिरा बेच्न वा खुवाउन हुँदैन । होटल, रेस्टुराँ सञ्चालक वा पसलेले सो व्यवस्था पालना नगरे एक लाख रुपैयाँसम्म जरिवाना र आवश्यक देखिए त्यस्ता होटल, रेस्टुराँ वा पसल बन्द गर्ने दण्डसजाय तोकिएको छ ।
तर, बालबालिकासम्बन्धी नीतिनियम र कानुनी प्रावधान कडाइका साथ लागू भएको छैन भने उमेर पहिचान नगर्दा रात्रिकालीन, मनोरञ्जन क्षेत्रमा आपराधिक, यौनजन्य हिंसा र दुर्व्यवहार बढ्दै गएको छ । यस्ता ठाउँमा घटना भएलगत्तै प्रहरीलाई जानकारी गराउने, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा मध्यस्थता गर्ने प्रवृत्ति छ ।
माथिको घटनाले डिस्को, डान्सबार, क्यासिनो, मसाज, दोहोरी, रोदीघर, होटल वा मनोरञ्जन क्षेत्रमा बालिका असुरक्षित छन् भन्ने पनि देखाउँछ । मनोरञ्जन क्षेत्रभित्रको हिंसालाई गत वर्ष एक किशोरीले सार्वजनिक गरेकी थिइन् । आठ वर्षअघि ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी हुँदा आफूलाई आयोजकले बलात्कार र यौनशोषण गरेको घटनालाई टिकटक र इन्स्टाग्राममार्फत उनले खुलाएकी थिइन् । उनलाई आयोजक भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डेले बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बेहोस हुने पेय पदार्थ खुवाई पहिलो पटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो/भिडियोमार्फत ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म यौन शोषण गरेको पीडितको भनाइ थियो । घटना हुँदा उनी १६ वर्षकी थिइन् । पाण्डे मानव बेचबिखन–ओसारपसारसम्बन्धी मुद्दामा कारागार चलान भइसकेका छन् ।
राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले एलओडीमात्रै होइन, सामान्य रेस्टुरेन्टमा समेत हुन सक्ने यस्ता जोखिमलाई रोकथाम गर्न सरकारले प्रचलित ऐनकानुनको दबाबपूर्ण ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । ‘बालबालिका ऐनको व्यवस्थाले अभिभावक र व्यवसायीलाई उत्तिकै जिम्मेवार बनाएको छ,’ उनले भने, ‘छोराछोरीको निगरानी राख्ने काम अभिभावकको हो भने व्यवसायीले ग्राहकको प्रवेश गराउँदा मात्रै होइन, प्रचारप्रसार विज्ञापन गर्दैखेरी १८ वर्ष पूरा भएकाले मात्रै छिर्न पाउने भनेर जानकारी गर्नुपर्ने हो, तर त्यो भएको छैन ।’
समाजशास्त्री निर्मला ढकाल अभिभावक र मनोरञ्जन व्यवसायीले नै जिम्मेवारीबोध लिनुपर्ने बताउँछिन् । ‘क्लबहरू १८ वर्ष माथिकालाई हो भनेपछि त्यसभन्दा कम उमेरकालाई प्रवेश गराउनु भएन, प्रवेश गराउनु नै अपराध हो,’ उनले भनिन्, ‘त्यहाँ कुनै घटना भइहाल्यो भने प्रहरी प्रशासनले कारबाही गर्दैनन्, गरेको भए यस्ता घटना दोहोरिने थिएनन् ।’ नाबालिग विशेष संरक्षण र निगरानी गर्नुपर्ने वर्गमा पर्ने भएकाले सबैले जिम्मेवारीबोध गर्नुपर्ने उनको भनाइ छ । ‘बालबालिका उत्ताउलो भएर गए भनेर समाजले दोष दिने, प्रहरी प्रशासनले पनि त्यही मानसिकता राख्ने समस्या भयो,’ उनले भनिन् ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल कानुनी प्रावधानले यस्ता ठाउँमा बालबालिकालाई प्रवेश गर्न रोक लगाएको बताउँछन् । शंका लागेको अवस्थामा व्यवसायीहरूले विद्यालयको परिचयपत्र, नागरिकता वा परिचय खुल्ने कुनै न कुनै आधिकारिक परिचयपत्र मागेर ‘स्क्रिनिङ’ गर्नुपर्ने उनको भनाइ छ । विकसित देशमा वयस्कले बालबालिकालाई चुरोट किन्न लगाउने त टाढाको कुरा, चुरोट दिएको नै पाइए ती वयस्कमाथि कारबाही हुने गरेको उदाहरण दिँदै उनले भने, ‘अभिभावकले नै बालबच्चालाई चुरोट, रक्सी किन्न पठाउँछन् ।’
हरेक देशमा बालिग लक्षित डिस्को, डान्सबार, क्यासिनो, मसाज, दोहोरी, रोधीघर, होटल वा मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने विषयमा उमेरहद तोकिएको पाइन्छ । बेलायतमा सरकारी कानुनअनुसार कम्तीमा १८ वर्ष पूरा गरेकाले मात्रै ‘नाइट क्लब’ मा प्रवेश पाउँछन् । ग्राहकहरूको परिचय खुल्ने पासपोर्ट, फोटोसहितको राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र हुनुपर्छ । अन्यथा ‘नाइट क्लब’ ले उच्च मूल्यको जरिवाना तिर्नुपर्ने हुँदा परिचयपत्रबिना ग्राहकलाई प्रवेश नै दिँदैनन् । ‘दी इन्डियन एक्सप्रेस’ मा उल्लेख भएअनुसार भारतको गोवा, हिमाचल प्रदेश, कर्नाटक, सिक्किम र पुडुचेरीमा रक्सी किन्नका लागि न्यूनतम उमेर १८ वर्ष तोकिएको छ ।
जोखिमको पूर्वसावधानीका लागि नेपालमा क्षेत्रगत उमेरहद लगाएको पाइन्छ । मुलुकी अपराध संहिता २०७४ अनुसार २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर मात्रै नभई त्यसरी विवाह गराउनेलाई कारबाही हँॅदै आएको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ठूलो सवारीका लागि २१ वर्ष, मझौला र साना सवारीका लागि १८ वर्ष र दुई पाङ्ग्रे सवारीका लागि १६ वर्ष पुगेको हुनुपर्छ । उमेर पूरा नगरेकालाई यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र नै दिँदैन । तर, रात्रिकालीन र मनोरञ्जन व्यवसायमा लगाइएको उमेरहदको प्रभावकारी कार्यान्वयन नहुँदा बालिका यौन हिंसा र दुर्व्यवहारको सिकार भइरहेको अधिवक्ता सविन श्रेष्ठ बताउँछन् । ‘व्यवसाय गर्न नदिने भन्ने होइन मर्यादित र सुरक्षित व्यवसाय, सेवा हुनुपर्छ भन्न खोजिएको हो,’ उनी भन्छन्, ‘ऐनकानुन लागू भइरहेको छैन भने अनुगमन पनि छैन, यसले महिला र बालिका ग्राहकलाई मात्रै होइन मनोरञ्जन क्षेत्रका कामदार महिलालाई नै जोखिम निम्त्याइरहेको छ ।’
यस्तै गैरजिम्मेवार क्रियाकलापका कारण महिला तथा बालबालिकामाथिको घटना बढ्दो क्रममा छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपालमा महिला तथा बालबालिकासम्बन्धी अपराध दिनमा औसत १२ वटा हुने गर्छन् । दिनमा औसत ७ जना महिला तथा बालबालिका बलात्कारको सिकार भइरहेका छन् । सामाजिक समावेशीकरण तथा संघीयता केन्द्र नेपालले ०७७ मंसिरमा प्रकाशन गरेको ‘नेपालमा बाल बलात्कारको महामारी’ सम्बन्धी सामग्रीले बलात्कार समाजमा प्रमुख अपराधका रूपमा देखिएको र बालबालिका यसको लक्षित सिकार हुनु चिन्ताको विषय भनेको छ । ‘प्रहरीको तथ्यांकअनुसार २०७७/०७८ मा २ हजार १४४ बलात्कार र ६ सय ८७ बलात्कार प्रयासका घटना भएका छन्, जसमध्ये अधिकांश पीडित नाबालिग रहेका छन्,’ सामग्रीमा उल्लेख छ ।

मुख्य पृष्ठ

ललिता निवास प्रकरण: डेढ सय पदाधिकारी–कर्मचारी संलग्न

६ पूर्वमन्त्री, २ पूर्वमुख्य सचिव, १४ पूर्वसचिव र कम्तीमा १७ पूर्वसहसचिव संलग्न रहेको पुष्टि, ५ पूर्वसचिवसहित चार सयभन्दा बढीविरुद्ध पक्राउ पुर्जी
- मातृका दाहाल

(काठमाडौं)
बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ६ पूर्वमन्त्री, २ पूर्वमुख्य सचिव, १४ पूर्व र १ बहालवाला सचिवसहित सार्वजनिक पदधारण गरेका डेढ सयभन्दा बढी कर्मचारीको संलग्नता देखिएको छ । तीमध्ये केही कर्मचारी अझै पदमा छन् ।
जग्गा हिनामिना गर्ने गरी भएका निर्णयमा जोडिएका केही व्यक्तिको मृत्यु भइसकेको छ । पञ्चायतकालमै मुआब्जा दिएर तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवारबाट अधिग्रहण गरी सरकारका नाममा ल्याइएको मध्ये १ सय ४३ रोपनीभन्दा बढी जग्गा ०४९ देखि ०६९ को अवधिमा भूमाफियाले हडपेका थिए । अधिग्रहण गरेर गृह मन्त्रालयमातहतको समरजंग कम्पनीको रेखदेखमा राखिएको जग्गा विभिन्न सरकारका पालामा भएका गैरकानुनी निर्णयका आधारमा शृंखलाबद्ध रूपमा हडपिएको थियो ।
०४९, ०६२, ०६६, ०६७ र ०६९ मा मन्त्रिपरिषद्सहित विभिन्न निकायबाट गरिएका निर्णयको अपव्याख्या गरेर राणा परिवार र भूमाफियाले जग्गा हत्याएका थिए । जग्गा हत्याउन सरकारी निकायबाट निर्णय गराएबापत ०४९ तिर भूमाफिया र नौ कर्मचारीले करिब २२ रोपनी जग्गा घूस लिएका थिए । त्यसरी घूस लिनेमध्येका एक पूर्वनिर्वाचन आयुक्त एवं पूर्वसहसचिव सुधीरकुमार शाह पक्राउ परिसकेका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा ०७५ असारमा गठित शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिको सिफारिसपछि अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जग्गा हिनामिनामा अनुसन्धान गरेका थिए । अख्तियारले ०७६ माघ २२ मा अपूरो र अधुरो अनुसन्धानका आधारमा १ सय १० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो मुद्दा विचाराधीन छ ।
ब्युरोले भने किर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान जारी राखेको छ । पछिल्लो अनुसन्धानका क्रममा ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउन संगठित र योजनाबद्ध निर्णय प्रक्रियामा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई, ६ पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, प्रभुनारायण चौधरी, सञ्जयकमुमार साह र दीनानाथ शर्मा, दुई पूर्वमुख्य सचिव माधव घिमिरे र लीलामणि पौडेलको संलग्नता खुलेको छ । पूर्वमुख्य सचिव घिमिरे गाडी दुर्घटना भई त्रिशूली नदीमा खसेर बेपत्ता छन् भने तत्कालीन भूमिसुधारमन्त्री चौधरीको मृत्यु भइसकेको छ ।
त्यस्तै १४ जना पूर्वसचिव, एक बहालवाला सचिव, १७ जना सहसचिव, गुठी संस्थान प्रमुखसहितका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा जग्गा भूमाफियाको स्वामित्वमा
पुगेको थियो ।
पूर्वसचिव माधव रेग्मी ०६९ ताका ललिता निवासको जग्गा टिकिन्छा गुठीमा लैजान मन्त्रिपरिषद्को सामाजिक समितिबाट निर्णय हुँदा आमन्त्रित सदस्य थिए । हाल उनी लोक सेवा आयोगको अध्यक्ष छन् । रेग्मीका भाइ कुमार रेग्मी पनि ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन् । उनी हाल सर्वोच्च अदालतको न्यायाधीश छन् ।
 भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको परिवारबाट ललिता निवासकै ११ आना जग्गा हात पारेका रेग्मीले ८ आना अरूलाई नै बिक्री गरिसकेका छन् । करिब एक आना बाटोमा परेपछि बाँकी रहेको एक आना उनले सरकारका नाममा फिर्ता गरेका थिए । अख्तियारले मुद्दा चलाउनुअगावै एक आना सरकारलाई फिर्ता गरेपछि उनी मुद्दाबाट उम्किएका थिए । हाल सञ्चार मन्त्रालयको सचिव रहेका कृष्णबहादुर राउत ०६६/६७ ताका प्रधानमन्त्री निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई जग्गा सट्टाभर्ना दिने गरी भएको निर्णयका बेला भौतिक योजना मन्त्रालयमा शाखा अधिकृत थिए । आन्तरिक प्रशासन शाखा प्रमुख छँदा उनले उठाएको टिप्पणी तहगत रूपमा सदर भई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको थियो ।
स्रोतबाट प्राप्त विवरणअनुसार जग्गा हिनामिना प्रकरणमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री रहेका छविराज पन्त भूमिसुधार सचिव छँदा र अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात भौतिक योजना सचिव छँदा ०६६/६७ ताका प्रधानमन्त्री निवास विस्तार र नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिने निर्णयमा सामेल भएका थिए । पूर्वप्रधानमन्त्री नेपाल, पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री गच्छदार, राज्यमन्त्री साह र भूमिसुधारमन्त्री श्रेष्ठ पनि सट्टाभर्नाको केसमा जोडिएका हुन् ।
टिकिन्छा गुठीमा जग्गा लैजाने प्रस्ताव र निर्णय गर्ने क्रममा ०६३/६४ ताका चौधरी र ०६९ मा जोशी मन्त्री थिए । चौधरीको निधन भइसकेको छ । पूर्वसचिव धरणीधर खतिवडा टिकिन्छा गुठीका नाममा जग्गा लैजान सामाजिक समितिबाट निर्णय हुँदा समितिको सदस्य सचिव थिए । सचिवहरू शंकरप्रसाद सुवेदी, रवीन्द्रमान जोशी, नारायणगोपाल मलेगो, दिनेशहरि अधिकारी र युवराज भुसाल सट्टाभर्ना र टिकिन्छा गुठीसम्बन्धी निर्णयमा संलग्न छन् । मन्त्रिपरिषद्को सामाजिक समितिको निर्णयबाट सरकारी जग्गा टिकिन्छा गुठीमा लैजान डाकिएको बैठकमा सचिवहरू रमेश ढकाल, राजुमानसिंह मल्ल, भेषराज शर्मा, कृष्णचन्द्र पौडेल, सुरेशमान श्रेष्ठ र माधवप्रसाद रेग्मी आमन्त्रित सदस्य थिए । निर्णय गर्दा उनीहरूको समेत उपस्थिति रहेकाले अनुसन्धानको दायरामा परेका हुन् । ढकाल हाल उच्च अदालतमा न्यायाधीश छन् ।
यस्तै मालपोत, नापी, भूमिसुधार विभाग तथा मन्त्रालयमा बसेर नक्कली फाइल खडा गर्नेदेखि त्यस्ता फाइलका आधारमा टिप्पणी उठाउने र सरकारी जग्गा नक्कली मोहीका नाममा कायम गराउनेसम्मका निर्णयमा १८ जना सहसचिवको संलग्नता खुलिसकेको छ । स्रोतबाट प्राप्त विवरणअनुसार पूर्वनिर्वाचन आयुक्त शाह, कलाधर देउजा, उमानाथप्रसाद ज्ञवाली, मुकुन्दप्रसाद आचार्य (हाल मृत्यु), रुद्रकुमार श्रेष्ठ, गेहनाथ भण्डारी, प्रेमबहादुर खापुङ, टीकाराम घिमिरे, शंकरप्रसाद सुवेदी, पुरुषोत्तम पौडेल, विनोदप्रसाद पौडेल (जिल्ला न्यायाधीश, तत्कालीन कानुन अधिकृत), सुरोज राजकर्णिकार, बालकृष्ण श्रेष्ठ, अशोकनाथ उप्रेती, धर्म गौतम, जितबहादुर थापा, तेजराज पाण्डे र गुठी संस्थानका प्रमुख बलिरामप्रसाद साह तेलीको पनि संलग्नता खुलेको हो । यसमध्ये पाँच पूर्वसचिवहरू बस्न्यात, अधिकारी, पन्त, भुसाल र मलेगोसहित धेरैजसो व्यक्तिविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान जारी राखेको छ, तर क–कसलाई पक्राउ गर्न अनुमति लिइएको छ भन्ने प्रहरीले खुलाएको छैन ।
जग्गा हिनामिनामा संलग्न ०४९ देखि ०६९ सम्मका निर्णय प्रक्रियामा संलग्नदेखि जग्गा हत्याउन किर्ते, जालसाझी, नक्कली मोही खडालगायतमा संलग्न चार सयभन्दा बढीविरुद्ध पक्राउ अनुमति लिइसकिएको प्रहरीले जनाएको छ । पक्राउ अनुमति लिइएका व्यक्ति एक–अर्का मितिका निर्णयमा दोहोरो संलग्न देखिएको प्रहरी स्रोतको भनाइ छ । अपराधमा संलग्नमध्ये २८ जनाको मृत्यु भइसकेको खुलेको छ ।

 

निर्णय प्रक्रियामा जोडिएकाहरू
पूर्वमन्त्री (६)
विजयकुमार गच्छदार
(जग्गा सट्टाभर्नामा टिप्पणी सदर)
प्रभुनारायण चौधरी, निधन
(गुठीमा जग्गा लाने प्रस्ताव, ०६३)
डम्बरबहादुर श्रेष्ठ (जग्गा सट्टाभर्ना)
सञ्जयकुमार साह (जग्गा सट्टाभर्ना)
चन्द्रदेव जोशी (गुठीमा जग्गा दर्ता, ०६९)
दीनानाथ शर्मा (गुठीमा जग्गा लैजाने निर्णय)
पूर्वमुख्यसचिव (२)
माधव घिमिरे, त्रिशूलीमा बेपत्ता
(जग्गा सट्टाभर्नाका योजनाकार)
लीलामणि पौडेल
(गुठीमा जग्गा लैजाने निर्णयमा संलग्न)
सचिव (१)
कृष्णबहादुर राउत (सट्टाभर्ना निर्णयको टिप्पणी)
पूर्वसचिव (१४)
छविराज पन्त
(टिप्पणी सदर, मन्त्रिपरिषद्मा प्रस्ताव)
शंकरप्रसाद सुवेदी (जग्गा सट्टाभर्ना)
रवीन्द्रमान जोशी (गुठीमा जग्गा लैजाने निर्णय)
नारायणगोपाल मलेगो (जग्गा सट्टाभर्ना)
धरणीधर खतिवडा (सामाजिक समितिबाट निर्णय)
दीप बस्न्यात (जग्गा सट्टाभर्ना)
दिनेशहरि अधिकारी (नक्कली मोही खडा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव)
युवराज भुसाल (टिकिन्छा गुठीमा जग्गा लैजान टिप्पणी सदर)
रमेश ढकाल (टिकिन्छा गुठीमा मोही कायम गर्ने निर्णय हुँदा सामाजिक समितिमा आमन्त्रित)
राजुमानसिंह मल्ल (सामाजिक समितिमा आमन्त्रित)
भेषराज शर्मा (सामाजिक समितिमा आमन्त्रित)
कृष्णचन्द्र पौडेल (सामाजिक समितिमा आमन्त्रित)
सुरेशमान श्रेष्ठ (सामाजिक समितिमा आमन्त्रित)
माधवप्रसाद रेग्मी (सामाजिक समितिमा आमन्त्रित)
पूर्वसहसचिव (१७)
सुधीरकुमार शाह (जग्गा घूस)
कलाधर देउजा (मन्त्रिपरिषद् निर्णय अपव्याख्या, जग्गा घूस)
उमानाथप्रसाद ज्ञवाली (नक्कली मोही कायम)
मुकुन्दप्रसाद आचार्य, हाल मृत्यु (नक्कली फाइल खडा)
रुद्रकुमार श्रेष्ठ (नक्कली फाइल खडा))
गेहनाथ भण्डारी (जग्गा घूस)
प्रेमबहादुर खापुङ (नक्कली फाइल खडा, जग्गा घूस)
टीकाराम घिमिरे (नक्कली फाइल खडा)
शंकरप्रसाद सुवेदी (टिप्पणी उठाउने)
पुरुषोत्तम पौडेल (टिप्पणी उठाउने)
विनोदप्रसाद पौडेल (टिप्पणी उठाउने)
सुरोज राजकर्णिकार (टिप्पणी उठाउने)
बालकृष्ण श्रेष्ठ (टिप्पणी उठाउने)
अशोकनाथ उप्रेती (टिप्पणी उठाउने)
धर्म गौतम (टिप्पणी उठाउने)
जितबहादुर थापा (टिप्पणी उठाउने)
तेजराज पाण्डे (टिप्पणी उठाउने)
गुठी संस्थान प्रमुख (१)
बलिरामप्रसाद साह तेली (नक्कली मोहीलाई जग्गा दर्ता)

मुख्य पृष्ठ

वारि–पारि ‘हात्ती गोठाला’

सीमावर्ती गाउाका युवा सााझ पर्न थालेपछि जुट्छन्, मोटरसाइकलको हर्न र टर्च लाइटका रातभरि हात्तीको गोठालो गर्छन्
- पर्वत पोर्तेल
बगरमा जाग्राम: मेची नदी किनारमा हात्ती निगरानी गर्दै युवा । 
तस्बिर: पर्वत पोर्तेल/कान्तिपुर

(झापा)
१० वर्षको उमेर छँदादेखि न्युटन कार्की हात्ती लखेट्न मेची बगर पुग्थे । दौंतरीले हात्तीलाई ढुंगा हान्थे, उनी पनि त्यही सिको गर्थे । साथीको लहैलहैमा उनले अजंगको हात्तीमाथि ढुंगा मात्रै हानेनन्, विस्फोटक पटका र आगोको पुल्ठो पनि ठोसे । तर, हात्ती आउने क्रम रोकिएन, बरु थप आक्रामक बन्यो । जनधनको क्षति बढ्यो । ‘हामीले लखेट्दा भाग्ने डराउने जन्तु हैन रहेछ हात्ती, जिस्क्याउँदा झन् उपद्रो गर्दो रहेछ,’ उनको निष्कर्ष छ, ‘हात्तीलाई माया गर्नुपर्ने रहेछ ।’
रोजगारी सिलसिलामा ३ वर्ष खाडीमा बिताएर फर्किएका न्युटन अहिले हात्ती आतंक रोक्न वडा कार्यालयले बनाएको र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) का नेपालतर्फका संयोजक हुन् । आरआरटीका स्वयंसेवक उनीसहित २४ जना छन् । पारि भारततिर नक्सलबारीका अमित राउतको संयोजकत्वमा अर्को टोली सक्रिय छ ।
यी दुई टोलीले हात्ती नियन्त्रण गर्न ६ महिनादेखि संयुक्त गस्ती गरिरहेका छन् । ‘हामी वारि–पारिका हात्ती गोठाला हौं,’ न्युटनले हाँस्दै सुनाए, ‘पहिला गाईबस्तुको गोठालो गरिन्थ्यो, अहिले हात्तीको ।’ वारि–पारिका यी हात्ती गोठालाहरू साँझ पर्न थालेपछि जुट्छन् । कुनै बेला भोकै पनि दगुरेर मेची बगर पुग्छन् । हात्ती गोठाला गरेबापत उनीहरूलाई कसैले कुनै तलब या सुविधा दिँदैन । आफ्नो गाउँलाई हात्तीको ताण्डवबाट मुक्त पार्ने हुटहुटीले उनीहरू सक्रिय भएका हुन् । आफ्नै खर्चमा तेल किन्छन् अनि मोटरसाइकलमा हुँइकिएर हात्ती छेक्न दिनहुँजसो मेची किनार पुग्छन् । त्यसका लागि उज्यालो नेपाल नामक गैरसरकारी संस्थाको पहलमा उनीहरूको जनही ५ लाखका दरले बिमा भएको छ । ‘ज्यानै जोखिममा राखेर हात्तीको गोठालो गरिरहेका
छौं,’ न्युटनले थपे, ‘बिमासम्म चैं भएको छ ।’
कहिलेकाहीं मेचीको भेल तरेर पारि पुग्छन् । नेपाली टोलीलाई भारतीय टोलीले दशगजामा स्वागत गर्छ । अनि हूल बाँधिएर हात्तीको हूलतिर लम्किन्छन् । उनीहरूसँग हात्ती रोक्न चाहिने पर्याप्त स्रोतसाधन छैन । छ त मोटरसाइकलको हर्न र टर्च लाइट मात्रै । भोक र निद्रा माया मारेर उनीहरू रातभरि हात्तीको गोठालो गर्छन् । ‘टर्च लाइटको सहाराले देखिएको हात्तीलाई बाइकको हर्न प्रयोग गरेर सामूहिक रूपमा जंगलतिर पठाउँछौं,’ भारततिरको आरआरटीका संयोजक राउतले सुनाए, ‘हात्ती र मान्छे दुवैलाई कम क्षति पुग्ने तरिका प्रयोग गरिरहेका छौं ।’ भारतीय टोलीको समस्या पनि उस्तै छ । उनीहरू पनि स्रोतसाधनविहीन छन् ।
यी हात्ती गोठालाहरूले ‘र्‍यापिट रेस्पोन्स टिम’ र ‘इन्डो–नेपाल बोर्डर फ्रेन्डसिप ग्रुप’ नामक दुई वाट्सएप च्याट ग्रुप पनि बनाएका छन् । सँगै जुट्न नसकेका दिन च्याट ग्रुपमार्फत हात्तीको आउजाउबारे जानकारी आदानप्रदान गर्छन् । ‘हात्तीले पुर्‍याएको क्षति, लोकेसन सबै जानकारी साटासाट गर्छौं,’ राउतले थपे, ‘दुई देशबीचको संयुक्त गस्तीले हात्तीबाट हुन सक्ने सम्भावित क्षति मात्रै कम भएको छैन, हात्तीको संरक्षणमा पनि टेवा पुगेको छ ।’
दुई देशका हात्ती गोठाला समूह मानव–हात्ती सहअस्तित्वका लागि बेला–बेला अन्तरसंवादमा पनि जुट्छन् । केही समयअघि भारत नक्सलबारी ब्लकअन्तर्गत मनिरामजोत ग्राम पञ्चायतको मल्लाबारीमा दुई देशका जनप्रतिनिधि र सुरक्षा निकायसँग बसेर उनीहरूले हात्तीको उपद्रो रोक्नेसहित मानव र हात्ती दुवैलाई बचाउने उपायको खोजी पनि गरे । ‘हात्तीका कारण दुवैतर्फ वर्षौंदेखि भोग्दै आएको समस्याप्रति दुवैतिरका जनप्रतिनिधिहरू गम्भीर बनेका छौं,’ मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सुनाए, ‘मिलेर हात्ती समस्या समाधान गर्नुको विकल्प छैन ।’
सिमान्त गाउँ बाहुनडाँगीपारि भारतको मनिरामजोत ग्राम पञ्चायत छ । साँझ परेपछि त्यही भारतीय गाउँ छिचोल्दै जंगली हात्तीको हूल मेची तरेर वारि आइपुग्थ्यो । केही समययता भने हात्तीको यो रुटमा आरआरटी तगारो बनेको छ । ‘पहिलो चरणमा भारततिरै पुगेर हात्तीलाई रोक्ने हाम्रो भरपूर प्रयत्न रहन्छ,’ आरआरटीका अर्का युवा सुमित राउतले सुनाए, ‘भारततिर रोक्न सकिएन भने मेची तर्नचाहिँ दिँदैनौं ।’
कहिलेकाहीं भने हात्ती अर्कै रुटबाट छिरेर क्षति गर्छ । बाहुनडाँगीबाट फुत्किएको हात्ती झापाको बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी हुँदै दमक नगरको माथिल्लो भेगसम्म पुगेर उपद्रो गरेर फर्किन्छ ।
‘बाहुनडाँगीबाट छिरेका अधिकांश हात्ती फर्किन्छन्,’ संरक्षणकर्मी शंकर लुइँटेल भन्छन्, ‘केहीचाहिँ यतैको जंगलमै भुल्लिन्छन् ।’ उनका अनुसार भारतबाट आएर यता बसेका करिब २० वटा हात्ती अझै झापाका जंगलमा चरिचरनमा मस्त छन् । उत्तरको बहुवनदेखि दक्षिणको जलथल जंगलसम्म पुगेर ती हात्ती चर्छन् । झापामा एक दर्जन जति रैथाने हात्ती पनि छन् । रैथाने हात्तीले जिल्लाका विभिन्न क्षेत्रमा क्षति गरिरहेका छन् । ‘झापामा मान्छे मार्ने र बालीनालीमा क्षति पुर्‍याउने हात्ती रैथाने नै हुन्,’ लुइँटेलले भने । जिल्ला वन कार्यालय झापाका अनुसार हात्तीको आक्रमणबाट एक वर्षभित्र ५ जनाले ज्यान गुमाएका छन् । पारि नक्सलबारी क्षेत्रमा पनि यो वर्ष तीन जनाको ज्यान गयो ।
बर्दियाको उज्यालो नेपाल नामक संस्थाले ६ महिनाअघि साइरन जडान गरिदिएको थियो । यही साइरनको संकेतपछि ‘हात्ती आयो’ नामक एप्समार्फत सूचना सर्वसाधारणको कानकानमा पुर्‍याइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन संरक्षणकर्मी रमेश थापा भन्छन्, ‘हात्ती आउनेबित्तिकै एप्समार्फत सूचना गरेपछि हात्ती आयो भन्दै मोबाइलमा साइरन बज्छ,’ उज्यालो नेपालले स्थानीयको घर र बाली बिमासमेत पहल गरिरहेको छ ।
उज्यालोको पहलमा आउँदो साउन १ बाट वडाका १३ सय घरधुरीको बाली बिमाबाट गरिने भएको छ । बाली बिमा भए पीडितले तत्काल राहत पाउन सक्ने भनिएको छ । वडाध्यक्ष कार्कीले थपे, ‘हात्ती पीडित किसानले तत्काल राहत पाउनुपर्छ भन्ने उद्देश्य छ ।’ हात्तीका कारण यस भेगमा वर्षौंदेखि भएको क्षतिको लेखाजोखा छैन । सरकारले वन्यजन्तुबाट भएको भौतिक क्षतिबापत १० हजार रुपैयाँ उपलब्ध गराउँदै आए पनि उक्त रकम लिन अनावश्यक सास्ती पाउने गरेको गुनासो छ ।
खासमा बाहुनडाँगी हात्तीको पुरानो जैविक मार्ग हो । आफ्ना पिता पुर्खा हिँडेको यो मार्ग बिर्सन नसक्दा यो भेगमा वर्षौंदेखि मानव–हात्तीबीचको लडाइँ चलिरहेको छ । कुनै समय बन्दुक हानेर हात्ती मार्नुपर्छ भन्ने सर्वसाधारणको सोच थियो, त्यसमा क्रमिक रूपले सुधार हँॅदै आएको छ ।

Page 2
म्यागेजिन

जहिल्यै पहिरोको त्रास

नारायणगढ–मुग्लिङ सडक
स्तरोन्नतिमा ३ अर्बमा लागेको सडकको ३१ ठाउामा पहिरो नियन्त्रणका लागि छुट्टै ३० करोड खर्च, तर न जोखिम घट्यो न त दीर्घकालीन समाधान नै भयो
- विमल खतिवडा

(काठमाडौं)
कालेखोलामा पहिरो गएर शनिबार साँझ ४ बजे नारायणगढ–मुग्लिङ सडकमा बन्द भएको आवागमन खुलाउन अबेरसम्म प्रयास भइरहेको छ । यो खण्डमा पहिरो खसेर आवागमन अवरुद्ध हुनु नौलो रहेन । गत असार १४ र १५ मा २९ घण्टा बन्द भयो । १४ गते राति तुइनखोलामा पहिरो खसेपछि यातायात ठप्प भयो । पूर्व–पश्चिमबाट काठमाडौं हिँडेका हजारौं यात्रु बीच सडकमै अलपत्र परे । यात्रुले भोकभोकै रात बिताउनुको विकल्प भएन । बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिए । मुग्लिङबाट नारायणगढतर्फ २.२ किलोमिटर दूरीमा पहिरो खस्दा त्रासैत्रासमा यात्रुले सडकमै रात कटाए ।
यो समस्या बर्सेनि बर्खामा दोहोरिइरहन्छ । ठूलो पानी पर्नै हुन्न, कुन ठाउँमा कतिखेर पहिरो खस्छ पत्तो हुँदैन । यो खण्डमा पानी पर्दा मात्र होइन, घामलाग्दा पनि सुक्खा पहिरो खसेर अवरुद्ध बन्ने गरेको सडक डिभिजन भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले बताए । नारायणगढ–मुग्लिङ सडक असार १४ यतामात्र ११ दिनको अन्तरालमा झन्डै ६० घण्टा सडक अवरुद्ध भइसकेको छ ।
पुनर्निर्माण थालेर सञ्चालनमा आएयता नारायणगढ–मुग्लिङ खण्डमा धेरै दुर्घटना भएका छन् । विभिन्न समय भएका दुर्घटनामा १ सय ८४ जनाले ज्यान गुमाए भने १ हजार ८१ जना घाइते भएका छन् । अधिकांश दुर्घटना पहिरोकै कारण भएको पाइएको छ । सडक विस्तारमा भूबनोटलाई ध्यानमा राखेर सुरक्षाका उपायसहितका संरचना नबनाउँदा यो खण्डमा दुर्घटनाको जोखिम बढेको हो । मुग्लिङबाट नारायणगढतर्फको खण्डमा चट्टानी पहिरोको जोखिम बढी रहेको भूगर्भविद्हरूको भनाइ छ । सडकको स्तरोन्नति २०७२ वैशाख ७ बाट सुरु भई पटकपटक म्याद थपपश्चात् २०७५ साउन २४ मा पूरा भएको थियो । दुई लेनमा सडक स्तरोन्नति गरिए पनि पहिरो खस्ने क्रम रोकिएको छैन ।
यो सडक काठमाडौं उपत्यका र गण्डकी प्रदेश आउजाउको ‘लाइफ लाइन’ हो । भन्सार नाका वीरगन्जबाट आएका सामान होस् वा भैरहवाबाट, यही राजमार्ग भएर दैनिक उपभोग्य वस्तु संघीय राजधानी भित्रिन्छ । मालवाहक र ठूला यात्रुवाहक सवारीका लागि यो सडक प्रयोग गर्नुको विकल्प छैन । प्रत्येक बर्खामा कतिबेला कहाँनेर पहिरो खस्छ भन्ने अनिश्चित छ । पहिरो रोकथामको दिगो उपाय अपनाउन नसक्दा यो खण्डमा सास्ती भोग्नुपर्ने बाध्यता छ । निर्माणकै क्रममा पनि गुडिरहेका गाडीमाथि पहिरो खस्दा कैयौंले ज्यान गुमाएका थिए ।
व्यवसायीहरूले यो सडक खण्डलाई व्यवस्थित गर्नुपर्ने माग राख्दै आएको नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए । ‘राजधानी जोड्ने मुख्य सडक नै यही हो,’ उनले भने, ‘सडकको स्तरोन्नति गर्नु राम्रै हो, तर प्रत्येक बर्खामा पहिरोले सास्ती दिने गरेको छ ।’ मुग्लिङबाट नारायणगढतर्फ लाग्दा पारिको खण्डमा एकतर्फी सडक बनाएर चलाए अहिलेको जस्तो समस्या नहुने उनको सुझाव छ । ‘दैनिक उपभोग्य वस्तु राजधानी ल्याउन काठमाडौं/तराई–मधेश द्रुतमार्ग नबनेसम्म यो सडकको विकल्प छैन,’ उनले भने, ‘त्यसैले विकल्पका रूपमा मुग्लिङ पारि सडक बनाउनैपर्छ ।’ उनले दैनिक उपभोग्य वस्तु राजधानीतर्फ ल्याउँदै गर्दा पहिरो झरेर सडक त्यहीं बिग्रिने गरेको उनले गुनासो गरे । ‘फलफूल, माछामासु, तरकारी, दूधलगायत खाद्यवस्तु जहिले जिल्लाहरूबाट हिँडायो त्यही दिन नै राजधानी नपुर्‍याए बिग्रिहाल्छ,’ उनले भने, ‘अहिले पहिरोका कारण यस्ता सामान बोक्ने ढुवानीका साधन सडकमै रोकिँदा व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ ।’
यो सडक भएर दैनिक करिब ८ हजारभन्दा बढी सवारी गुड्छन । विश्व बैंकको ऋण सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत ३६ किलोमिटरमध्ये चितवनको आँपटारीदेखि मुग्लिङसम्मको ३३ किमि सडक स्तरोन्नति गरिएको हो । स्तरोन्नतिमा तीन अर्ब रुपैयाँ खर्च भयो । उक्त खण्डको ३१ ठाउँमा देखिएको पहिरो नियन्त्रणका लागि मात्र नारायणगढ–मुग्लिङ सडक आयोजनाले थप ३० करोड रुपैयाँ खर्च गर्‍यो । तर न दुर्घटनाको जोखिम कम भयो, न पहिरोको दीर्घकालीन रोकथाम नै भयो । यो खण्डमा पहिरो सफा गर्नका लागि बर्सेनि ९० लाख रुपैयाँ खर्च हुने गरेको सडक डिभिजन भरतपुरका प्रमुख पौडेलले बताए । ‘गत आर्थिक वर्ष ९० लाख रुपैयाँ खर्च भयो,’ उनले भने, ‘चालु वर्षका लागि पनि ९० लाख रुपैयाँ छुट्याइएको छ ।’ पहिरोको जोखिम रहेका ठाउँमा रोकथामका लागि रक नेटिङ र रक एङकरिङको काम भएको उनले बताए । अहिले तुइन खोला, केराबारीस्थित मौरी पुल र नारायणगढबाट मुग्लिङतर्फको १८ किमि दूरीमा पहिरोको जोखिम बढी छ ।
‘१८ किमि दूरीमा मुख्य सडकभन्दा माथि शाखा सडकको ट्र्याक खोल्दाको माटो बर्खामा बगेर आउने गरेको छ,’ उनले भने, ‘मौरी खोलाले पहाडमा खसेको पहिरो बगाएर ल्याउने र तुइन खोलामा पहिलो पटक चट्टानी पहिरो खस्दा समस्या भएको हो ।’ गत वर्ष यो सडक पटकपटक गरी १ सय १७ घण्टा अवरुद्ध भएको थियो । त्यस्तै सडक स्तरोन्नतिपश्चात् १८ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ४ वटा पुल सञ्चालनमा छन् । अन्य १४ पुल निर्माणको क्रममा रहेको उनले बताए । विश्व बैंकले अध्ययन नै गरेर सडक स्तरोन्नतिको काम गरिएको दाबी उनको छ ।
उनका अनुसार ३३ किमिमध्ये २४ किमि खण्डमा पहिरोको जोखिम बढी छ । ‘मुग्लिङदेखि दासढुंगा खण्डको जुनसुकै ठाउँमा पनि पहिरो खस्न सक्ने अध्ययनले देखाएको छ,’ उनले भने, ‘त्यसमा पनि ३१ ठाउँको पहिचान गरी रोकथामको काम गरिएको हो, २४ किमिमै रोकथाम गर्नका लागि धेरै खर्च लाग्ने भएर गरिएन ।’ जहाँ–जहाँ जोखिम छ, त्यहाँ–त्यहाँ मात्र काम गरिएको उनले बताए । ‘पहिरो खस्ने सम्भावित क्षेत्रमा रोकथामको काम गरियो, तुइनखोला त्यो बेला जोखिममा थिएन,’ उनले भने, ‘त्यसैले त्यो खण्डमा रोकथामको कुनै काम गरिएन । पुल बनाउन ब्रेकर हालियो, त्यसको कम्पन आएर पहिरो खस्यो कि भन्ने अड्कल छ, तर अनुसन्धान भइसकेको भने होइन ।’
सडकमा धेरै समस्या आएपछि प्रतिनिधिसभाअन्तर्गत विकास समितिका तत्कालीन सभापति रवीन्द्र अधिकारीको टोलीले २०७४ असार १३ मा स्थलगत अनुगमन गरेको थियो । समितिले जोखिम रहेको भन्दै राति सवारी चलाउन रोक लगाउन निर्देशन दिएपछि असार २५ देखि यो खण्डमा बर्खाभरि रात्रिकालीन यातायात आवागमन बन्द पनि गरिएको थियो । त्यसबेलाको स्थलगत अनुगमनमा सहभागी सदस्य गुरुप्रसाद बुर्लाकोटीले सडक निर्माणपश्चात् आइपर्ने जोखिम आकलन नगरी काम गर्दा पहिरोको जोखिम रहेको बताए ।


‘त्यो बेला सरकारले सडक विस्तारको नीति ल्यायो, त्यहीअनुसार काम अघि बढाइयो,’ उनले भने, ‘निर्माणपश्चात् आइपर्ने जोखिमको अनुमान नै नगरी काम गर्दा अहिले पहिरोको समस्या धेरै देखिएको हो ।’ स्थलगत अनुगमनमा जाँदा आफूहरूसमेत दुई घण्टा पहिरोमा फसेको र त्यहीअनुसार व्यवस्थित तरिकाले काम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उनी बताउँछन् । अहिले हेर्दा जाली राखेर पहिरो नियन्त्रणको प्रयास गरिएको उनले बताए । ‘प्राविधिकहरूले पहाड काटेर सडक बनाएपछि पहिरोको समस्या आउँछ भन्ने अनुमान गरेर अघि बढ्नुपर्थ्यो,’ उनले भने, ‘त्यसो गरेको पाइएन, पहिरो नियन्त्रण गर्न नसके अझै कति वर्ष यसले सताउने हो, थाहा छैन ।’
पछि स्थलगत अनुगमनपछि समितिमा छलफलका क्रममा अध्ययन राम्रोसँग नगरी सडक स्तरोन्नति गर्दा पहिरोको समस्या आएको कुरा उठेको तत्कालीन विकास समिति सदस्य गणेश पहाडीले बताए । ‘पहाड बढी काटेको, पहिरोको जोखिम के हुन्छ भन्ने कुराको अध्ययन नगरी काम गरेको कुरा समितिमा उठेको थियो,’ उनले भने । यससम्बन्धमा समितिबाट कुनै किसिमको निर्देशन नभई मानवीय र भौतिक क्षति कम गर्न बर्खाभरि उक्त खण्डमा राति सवारी चलाउन रोक लगाउने निर्देशन दिइएको थियो ।
सडक विस्तारअघि भौगर्भिक अध्ययन नै आवश्यकताअनुसारको हुन नसकेकाले बढी समस्या देखिएको इन्जिनियरिङ भूगर्भविद् रञ्जनकुमार दाहालले बताउँछन् । ‘६० प्रतिशत सडक पहाडको फेदी काटेर बनाइएको छ, पहिरोको समस्या कसरी हट्छ ?,’ उनले भने, ‘सामान्य डिजाइनको भरमा सडक स्तरोन्नति गरेर हुँदैन । मैले यो सडकको अध्ययन गरेको २० वर्ष भयो, यसको सबै पाटो हेरिरहेकाले परम्परागत अध्ययन र डिजाइनको भरमा काम गर्दा समस्या भएको हो ।’ अर्को वर्ष समस्या दोहोरिन नदिन पहाड काटेर बनाइएका सडकका भित्ताको पुनः अनुगमन गरी काम गर्नु उपयुक्त हुने उनको सुझाव छ । सडक विभागबाट विशेष प्राविधिक टोलीसहित गएर पहिरो खसिरहने ठाउँमा नियन्त्रणको दिगो काम गर्नुपर्ने उनले बताए । ‘पहिरो सफा गर्न लाग्ने खर्च अध्ययनमा लगाएर समस्या पहिचान गरिनुपर्छ,’ उनले भने, ‘दिगो समाधानतर्फ नलागे पहिरोले सधैं सताउँछ ।’ सडकमा समस्या आएपछि २०७२ यताका प्रधानमन्त्री र विभागीय मन्त्रीहरू अधिकांश स्थलगत अनुगमनमा पुगेका छन् ।
जो पुग्थे, उसले निर्माणको कामदेखि पहिरो नियन्त्रण गर्न निर्देशन दिए । तर निर्देशन दिएअनुसार यो खण्डमा काम भने अहिलेसम्म हुन सकेको छैन । यस पटक चट्टानी पहिरो खसेको तुइन खोला खण्ड अध्ययनमा पहिचान नभएको ठाउँ परेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘आवश्यक अध्ययन नै नगरी सडक स्तरोन्नति गरियो भन्ने कुरामा पूर्ण सत्यता छैन,’ उनले भने, ‘तर केही न केही समस्या भने देखिएको छ, सडक विस्तार गर्दा यस्ता समस्या नआउलान् भन्ने होइन ।’ चट्टानी पहिरो खस्नुको कारण पत्ता लगाउन नसकिएको उनी बताउँछन् । ‘सडक चौडा गर्दा मेसिन औजार प्रयोग गरेर हो वा पहाड कटिङ गरेर चट्टानमा समस्या भयो, थाहा छैन,’ उनले भने, ‘अहिलेको ध्यान सडक अवरोध खुलाउनु हो ।’ तत्काल तारजाली गर्ने र अन्य उपाय अपनाएर पहिरो रोकथाम गर्ने अवस्था नरहेको उनले बताए । पहिरो पन्छाउने मेसिन/औजार तयारी अवस्थामा फिल्डमै राखिएको उनले सुनाए । यो ठाउँमा नयाँ पुल निर्माण भइरहेको छ ।
‘त्यसैले पुल निर्माणका लागि पहाड कटिङ गर्नुपर्ने भयो, त्यसका लागि मेसिन प्रयोग गर्दा कतिसम्म असर गर्छ आकलन गर्न नसकिएकै हो,’ उनले भने, ‘त्यसरी आकलन गर्न सकिएको भए किन यो विकल्पमा गइन्थ्यो, सुरुङ निर्माण वा कुनै विकल्प खोजिन्थ्यो, त्यो तहको अनुमान गर्न नसकेकै हो ।’ यो खण्डमा सवारी चाप बढी हुने भएकाले छिटो सक्न पुलको काम अघि बढाइएको सडक विभागले जनाएको छ । ‘पुल र सडकको निर्माण एकैचोटि थाल्दा सवारी सञ्चालनमा समस्या हुने भएकाले पहिला सडक र पछि पुल निर्माण गरिएको हो,’ उनले भने, ‘तर अहिले मुख्य समस्या तुइन खोलामा भए पनि अन्यत्र समस्या छैन ।’ नारायणगढ–मुग्लिङ सडकबारे बुझ्न स्थलगत रूपमै जाने तयारीमा रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । ‘तात्कालिक उपाय, यो बर्खामा सडक बन्द नहुने स्थिति कसरी बनाउन सकिन्छ, पहिरो आइहाले छिटो कसरी खोल्ने र दीर्घकालीन समाधानतर्फ गम्भीरतापूर्वक लाग्नेछौं,’ उनले भने, ‘यसको विकल्पका रूपमा कान्ति राजपथलाई सहज रूपमा चलाउने तयारी गर्दै छौं ।’
यो सडकको विकल्पका रूपमा पूर्वबाट आउने साना सवारी बर्दिबास–धुलिखेल हुँदै काठमाडौं, पश्चिमबाट आउनेले बुटवल–पोखरा हुँदै काठमाडौं (ठूला सवारी पनि) आउन सक्नेछन् । त्यस्तै चितवनदेखि तराईका विभिन्न जिल्लाबाट आउनेहरूले कान्ति राजपथ, हेटौंडा–नौबिसे र हेटौंडा–कुलेखानी–दक्षिणकाली हुँदै काठमाडौं आउन सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

नारायणगढ–मुग्लिङ खण्डको तुइन खोलाछेउ खसेको पहिरो पन्छाइादै (माथि), आवागमन अवरुद्ध हुादा अलपत्र एम्बुलेन्ससहितका सवारी र बिचल्ली यात्रु वैकल्पिक बाटो खोज्दै । तस्बिर: रमेशकुमार पौडेल/कान्तिपुर

 

नारायणगढ–मुग्लिङको विकल्प

कान्ति लोकपथ (तराईबाट आउादा)
हेटौंडा–नौबिसे
हेटौंडा–कुलेखानी–दक्षिणकाली–काठमाडौं
बुटवल–पोखरा–काठमाडौं (पश्चिमबाट आउादा)
बर्दिबास–धुलिखेल–काठमाडौं (पूर्वबाट आउादा)

 

Page 3
समाचार

एसईई ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ मा

काठमाडौं (कास)– एसईई नतिजामा न्यून ग्रेड पाउने विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ मा हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले ग्रेडवृद्धि परीक्षाका लागि आवदेन फाराम भर्न आह्वान गरेको छ । विद्यार्थीले आफू पढेको विद्यालयमार्फत साउन २१ सम्म जिल्ला विकास तथा समन्वय इकाइमा परीक्षा आवेदन फाराम पेस गर्नुपर्नेछ ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार बिहीबार सार्वजनिक नतिजामा ‘सी वा सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । यसपटकको नतिजामा अधिकांश विद्यार्थीको गणित विषयमा ‘सी, डी र ई’ ग्रेड छ । विद्यार्थीले आफूले चाहेका दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । विद्यार्थी अनुपस्थित रहेका दुई विषयमा पनि ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजामा चित्त नबुझेका विद्यार्थीलाई पुनर्योगका लागि साउन ५ सम्म निवेदन दिन सूचना गरेको छ । नियमित र ग्रेडवृद्धि समूहका विद्यार्थीले पुनर्योगका लागि इकाइ वा सोझै परीक्षा नियन्त्रण कार्यालयमा आवेदन दिन सक्ने श्रेष्ठले जानकारी दिए । ग्रेडवृद्धि परीक्षा र पुनर्योगका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ । ग्रेडसिटमा नाम, थर, जन्ममितिलगायत विवरण फरक परेका विद्यार्थीले ६ महिनाभित्र सच्याउन पाउनेछन् ।
काठमाडौं महानगरपालिकाले निजी विद्यालय/कलेजबाट कक्षा ११/१२ मा उपलब्ध गराउनुपर्ने छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गरेर विद्यार्थी छनोट गर्ने भएको छ । शिक्षा ऐन र नियमावलीको व्यवस्थाअनुसार परीक्षा सञ्चालन गरेर मात्र छात्रवृत्ति वितरण गरिने महानगरले सार्वजनिक सूचनमार्फत जनाएको छ । मेयर बालेन्द्र शाहले सामुदायिक विद्यालय पढेका, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब विद्यार्थीलाई छानेर छात्रवृत्ति प्रदान गरिने जनाएका छन् । निजी कलेजले भर्ना भएका मध्ये कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था छ ।
महानगरले कक्षा १० सम्म वितरण गरिएको छात्रवृत्तिको विवरण पनि विद्यालयसँग माग गरेको थियो । निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति कार्यान्यवन गराउन महानगरपालिकाले कडाइ गर्दै आएको छ । महानगरमा ५ सय ४ निजी विद्यालय छन् । कक्षा ११/१२ का हकमा महानगरको शिक्षा विभागले परीक्षा सञ्चालन गरेर मेरिटका आधारमा छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । छात्रवृत्ति परीक्षामा सहभागी हुन असार २८ देखि साउन १२ भित्र आवेदन दिन विभागले सूचना जारी गरेको छ, परीक्षा भने २० गते हुनेछ । विभागले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको विवरण असार मसान्तभित्र पठाउन विद्यालयहरूलाई सूचना गरेको छ । एसईईमा १.६ जीपीए प्राप्त गरेका विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Page 4
युवा ग्यालरी

लोकगीतमा जमेका बलाराम

जापान जाने भिसा लागेर पनि गीतसंगीतका कारण देशमै रोकिएका बलाराम विश्वकर्मा हिमालय लोकस्टार सिजन–२ का विजेता हुन् । लोकस्टारको उपाधि जितेपछि उनी त्यही खुसी बोकेर करिब ९ वर्षपछि जन्मघर फर्किए ।
- महेश केसी

(रुकुम पश्चिम)

‘आज मुटु दुखेनस् किन
छोडिस् क्या हो मायालाई सम्झिन...’

हिमालय लोकस्टार सिजन–२ का विजेता बलाराम विश्वकर्माको गीत हो यो । रुकुम पश्चिमका बलारामले यहाँसम्म आइपुग्न जीवनमा निकै संघर्ष गरेका छन् । सानीभेरी गाउँपालिका–३ गोलडाँडामा जन्मेका उनका लागि लोकसंगीत नै विदेश नजाने बहाना बन्यो । ‘गाउँबाट जापान जान भनेर काठमाडौं पसेको मलाई गीसंगीतको मायाले देशमै रोक्यो,’ उनले भने, ‘लोकस्टारको ताज पहिरिएपछि एउटा सपना त पूरा भयो, तर अरु कैयौं जन्मिए ।’
गोलडाँडा वरपर उकालीओराली गर्दै बाल्यकाल गुजारेका बलारामले कक्षा १२ सम्म गाउँकै राप्ती ज्ञानोदय विद्यालयमा पढे । त्यसपछि जापानको सपना देखेर २०७१ सालमा काठमाडौं पुगेका हुन् उनी । ‘स्टुडेन्ट भिसामा जापान जान भाषा पढ्न थालें,’ उनले भने, ‘करिब एक वर्षपछि जापानको भिसा पनि पाएँ । तर खै किन हो कुन्नि जापान जाने रहर यसै मर्‍यो ।’
खासमा सुरुमा उनी गीत रेकर्ड गरेर मात्रै जापान जाने सोचेका थिए । ‘म सानैदेखि गीत गाउने गर्थें । जापान जाने तयारी गरिरहेकै बेला दाइ (ठूलो बुबाका छोरा) एउटा गीत रेकर्ड गर्न सुझाए । सुरुमा नमानेका उनले केही समयमा गीत रेकर्ड गराए ।’
गीत थियो– ‘सम्झनाको तरेलीमा...’ । सागर विश्वकर्माको शब्दमा किरणबाबु पुनको लय तथा संगितको गीमा उनलाई साथ दिइन् गायिका पूर्णकला बिसीले । ‘पहिलो गीतबाट मलाई राम्रै प्रतिक्रिया मिल्यो । गायकीको प्रशंसा भयो ।’ जापान जानुपर्ने बलाराम पहिलो गीतबाट आएका प्रतिक्रियाले हौसिए । त्यसपछि भने गीतसंगीतमै लाग्ने सोचेर जापानको भिसा लागिसकेको राहदानी थन्काए । घरमा ५ भाइबहिनी । बलाराम जेठो सन्तान । ‘गीतसंगीमा भविष्य पनि देख्न थालें । विदेश गएपछि भाइबहिनी र बाआमाको चिन्ताले पनि पछि हटें,’ जापान नजानुको कारणबारे उनी भन्छन् ।
जापान जाने र धनपैसा कमाएर सुखी जीवनयापन गर्ने सपनाको भारी बोकाएर बिदा गरेका बलारामका बाआमा छोराले जापान नजाने निर्णय गरेको खबरले दुःखी मात्रै भएनन्, रिसाए पनि । ‘बाआमा यति रिसाउनुभयो कि, त्यसपछिका करिब ९ वर्ष मलाई घर नै जान मन लागेन । मैले पनि यही केही न केही गरेर देखाउँछु भनेर संकल्प गरेँ । बाआमाको मन जित्न सक्ने कुनै कर्म नगरी म पनि घर जान्न भनेर काठमाडौंमै घुडाँ धस्न थालेँ ।’
खासमा पहिलो गीत रेकर्ड गरेको करिब तीन वर्षपछि मात्रै उनको अर्को गीत आयो । यसबीचमा उनको संगीत यात्राले सोचेजस्तो ‘पिकअप’ लिएन । यस्तै केही आशा र निराशाबीच शिव हमालको शब्द अनि संगीतमा ‘आज मुटु...’ बोलको गीत गाए । यो गीतले भने नसोचेको चर्चा पायो । धेरै अग्रज साधक तथा कलाकारको गजबको प्रतिक्रिया मिल्यो उनलाई । तर यसले बलारामलाई भने पुगेन । ‘यस्तो भनौं न, सिर्जना चल्यो । गीत धेरैको मुखमा गुन्जियो तर म खासै चिनिइनँ ।’
त्यसपछि भने बलारामलाई जापान नगएर गल्ती गरेछु कि भन्ने पनि भयो । ‘खेती–किसानीमा दिन गुजारिरहेका बाआमाको कमाइले त दुई छाक खान पनि मुस्किल हुन्थ्यो । भाइबहिनी बढाउने र पढाउने अनि असल मार्गमा लगाउने जिम्मेवारी मेरै थियो,’ उनी विगत सम्झिए, ‘के गर्ने, कसो गर्ने भन्ने अवस्थाबाट गुज्रिइरहेका बेला नयाँ कामबारे आइडिया आयो– काठमाडौंमा इन्जिनियरिङ कन्सल्टेन्सी खोल्ने ।’ इन्जिनियरिङ पढेको भाइको सीप र आफ्नो व्यावसायिक सोच प्रयोग गरेर खोलेको कल्सल्टेन्सीले गति लियो । ‘यो काठमाडौंमा पैसाबिना त पाइला पनि सार्न मुस्किल छ । अनेक अभावबीच हामीले सुरु गरेको व्यवसायले एउटा आकार लिन थालेपछि अलिक सहज भयो,’ उनले भने ।
सबै कुरा ठिकठाकै चलिरहेका बेला २०७९ वैशाखमा हिमालय लोकस्टरको दोस्रो सिजन हुने सूचना बाहिर आयो । एक जना साथीले कर गरेपछि प्रतियोगितामा सहभागी हुन फारम भरे । साथीकै करले अनलाइन अडिसनमा सहभागी भएको बताउँछन् बलाराम । फिजिकल अडिसन पनि पार गरेपछि भने आशा उनलाई केही गर्न सकिन्छ भन्न लाग्यो । ‘त्यसपछि बल्ल म कस्सिएँ,’ उनले भने ।



‘हातमा रातो झोला,
यति राम्रो मान्छेको, माया कस्तो होला ?’

एकनारायण भण्डारीका यिनै शब्द र लय टपक्क टिपेर लोकस्टारको फिजिकल अडिसनमा प्रस्तुत भएका बलारामले सुरुमै निर्णायकबाट राम्रो प्रतिक्रिया पाए । उनी भन्छन्, ‘नेपाली लोक संगीत क्षेत्रका मूर्धन्य व्यक्तित्वहरू कुमार बस्नेत, राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा निर्णायक हुनुहुन्थ्यो । उहाँहरूबाट प्रशंसा पाउँदा सपनाजस्तो लाग्यो ।’ लोकस्टारको ताज जित्ने सपना बोकेर हिँडेपछि बलारामले चलिरहेको कन्सल्टेन्सी बन्द गरे । ‘मेरा लागि कम्पिटिसन जित्नु मात्रै भन्दा पनि आफूलाई प्रमाणित गर्नु थियो । अनि लामो समयपछि बाआमालाई यति चाहिँ गर्न सकें है भनेर सुनाउनुथियो,’ उनले भने ।
अनलाइन र फिजिकल अडिसन पारे गरेका दुई सय प्रतियोगीबीच सुरु भयो लाइभ अडिसन । बलारामले रुकुमकै कलाकार तिलक परियारको मौलिक टप्पा भाका ‘सुन हजुर..’ गाए । ‘अग्रज कलाकारको अगाडि थरीथरीका बाजागाजा अनि सुकिलो स्टेजमा रंगीविरंगी लाइट र क्यामेरा फेस गर्न गाह्रो भए पनि आफूले शतप्रतिशत दिएँ,’ उनले भने, ‘यो अडिसन पनि पार गरेको नतिजा सुन्दा खुसीको सीमा नाघ्यो ।’
उनले गाएको टेलिभिजनबाट प्रसारण भएपछि बलारामका बाआमा, गाउँघर, छरछिमेक अनि देश–विदेशमा रहेका साथीसंगी र शुभचिन्तकले फोन म्यासेज गर्न थाले । ‘धेरै वर्षपछि बाआमा पनि खुसी हुनुभयो,’ उनी भन्छन् । लोकस्टारको टप–१६ पछि भने पब्लिक च्वाइसका लागि भोटिङ राउन्ड सुरु भयो । बलारामलाई देश तथा विदेशबाट साथ र सहयोग मिल्यो । फलस्वरूप उनी टप–६ मा परे ।
फाइनल राउन्डमा बलारामले वसन्त थापाको गीत गाए । यसपछि नतिजाको घोषणा हुने भयो बैशाख १३ मा राष्ट्रिय सभा गृहमा । टप–६ सम्म पुगेका मध्येबाट एकलाई विजेता घोषणा गर्ने कार्यक्रम आयोजना भयो । नतिजाको पर्खाइमा ढुकढुक गरेको मुटु सम्हालेर बलाराम सभागृह पुगे । टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको ग्रान्ड फिनालेमा बलारामले वसन्त थापाकै ‘डाडै फुर्के सल्लो..’ बोलको गीत गाएर ताली पाए । ६ जनालाई स्टेजमा उभ्याएर तेस्रो र दोस्रोको नाम घोषणापश्चात् उद्घोषकले विजेताको नाम सुनाए– बलाराम विश्वकर्मा ।
नगद १५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र ग्रहण गरेर लोकस्टारको ताज पहिरिएपछि बलाराम यही खुसी बोकेर करिब ९ वर्षपछि बाआमा भेट्न जन्मघर फर्किए । ‘म केही गरेरै घर फर्किन्छु भनेर यत्तिका वर्ष आइनँ । स्टारको ताज र सम्मान लिएर घर फर्किएपछि गाउँकै सम्मान पाएँ । त्यो बेला झन् धेरै खुसी लाग्यो ।’
अब झट्टै गीत गाइहाल्ने र फगत चर्चा कमाउनका लागि बजारमा छिरिहाल्ने पक्षमा भने छैनन् बलाराम । संख्यालाई भन्दा गुणस्तरलाई ध्यान दिएर गीत गाउने सोच बनाएका बलाराम तिजलगत्तै नयाँ गीत ल्याउने तयारीमा छन् ।
‘म अब हाम्रा लोक भाका र मौलिक संगीतको सम्बर्द्धनमा डटेर लाग्छु । दर्शक/श्रोताको विश्वास कायम राख्न इमानदार प्रयास गरिरहन्छु,’ उनी भन्छन् ।

युवा ग्यालरी

‘ऐंचो पैंचो’ मा चुनावी माहोल

काठमाडौं (कास)– स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको फिल्म ‘ऐंचो पैंचो’ को टिजर सार्वजनिक भएको छ । टिजरमा चुनावी माहोल देखाइएको छ ।
फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । फिल्ममा स्वस्तिमा र मुकुनसँगै वर्षा राउत, कोसिस क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ, सुशील सिटौला, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी, रवीन्द्र झालगायत कलाकारले अभिनय रहेका छन् ।
कृषा चौलागाईंको निर्देशनमा तयार फिल्म भदौ १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ । निर्देशनका हिसाबले यो कृषाको डेब्यु फिल्म हो । यसअघि उनले ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘पलाँस’ लगायतका फिल्म निर्माण गरेकी थिइन् ।
पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्म विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । अभिनेता मुकुन भुसालको अर्को फिल्म ‘गणपति’ पनि भदौ १४ मै प्रदर्शनमा आउँदै छ । फिल्ममा मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, सुशील पोखरेल, अंशु महर्जनलगायत कलाकारले अभिनय गरेका छन् ।
सविन अधिकारी निर्देशित फिल्मको गीत ‘टुकी झ्याप’ शुक्रबार रिलिज गरिएको थियो । अनिश अधिकारीको शब्द र संयोजनमा तयार गीतमा निसान भट्टराई, अनिश अधिकारी र रचना रिमालले स्वर दिएका छन् ।

युवा ग्यालरी

पहिलो विम्बल्डन च्याम्पियनसिप

सन् १८७७ मा आजकै दिन

सन् १८७७ मा आजकै दिन (जुलाई ९) मा पहिलो विम्बल्डन च्याम्पियनसिप आयोजना गरिएको थियो ।
बेलायतको लन्डनस्थित अल इंग्ल्यान्ड क्रोक्वेट एन्ड लन टेनिस क्लबमा आयोजित च्याम्पियनसिप विश्वकै पहिलो आधिकारिक टेनिस प्रतियोगिता हो । पछि उक्त प्रतियोगितालाई पहिलो ‘ग्रान्ड स्लाम’ को मान्यता दिइएको थियो ।
बेलायतका स्पेन्सर डब्लू गोरले पहिलो प्रतियोगिता जितेका थिए । त्यसपछि १९०६ सम्म लगातार बेलायती नागरिकले उपाधि जितेका थिए । १९०७ मा अस्ट्रेलियन खेलाडी लाउरी डोहेर्टीले पहिलो पटक बेलायतबाहिर उपाधि लगेका हुन् ।
महिला टेनिस प्रतियोगिता भने सन् १८८४ मा सुरु भएको हो । बेलायती माउड वाट्सनले महिलातर्फको पहिलो उपाधि जितेकी थिइन् । त्यसपछि तीन दशकसम्म बेलायती खेलाडीले नै उपाधि जितेका थिए । १९१८ मा फ्रान्सकी सुजान लेनग्लेनले उपाधि जितेकी थिइन् । विश्वयुद्धका कारण १९१५ देखि १९१८ सम्म प्रतियोगिता आयोजना भएको थिएन ।

Page 5
समाचार

७ मुलुकमा नेपाली नियोग नेतृत्वविहीन

राजदूत नियुक्ति ढिलो हुादा एकातिर विदेशस्थित नियोगमा नेतृत्व खाली हुादै जाने र अर्कातिर परराष्ट्र मन्त्रालयमा सहसचिवहरूको घुइाचो लागेर बस्ने कार्यकक्षसमेत नहुने स्थिति
- जगदीश्वर पाण्डे

(काठमाडौं)
सरकारले नेपाली राजदूत रिक्त रहेका मुलुकमा पदपूर्ति गर्न तदारुकता देखाएको छैन । सरकारले अहिले नै राजदूत नियुक्ति प्रक्रिया थाले पनि संसदीय सुनुवाइ र सम्बन्धित अग्रिमो (सहमति) को प्रक्रिया पूरा हुन झन्डै तीन महिना लाग्न सक्छ ।
यूएई, थाइल्यान्ड, कुवेत, क्यानडा र फ्रान्समा नेपाली राजदूत पद खाली छन् । यूएई र कुवेतमा राजदूत पद रिक्त भएको तीन महिना भएको छ । ती दुवै मुलुकमा ठूलो संख्यामा नेपाली कामदार छन् । त्यहाँ समस्या लिएर दूतावास पुग्ने नेपाली कामदारको संख्यो ठूलो हुने गरेको छ । क्यानडामा पनि नेपालीको उपस्थिति बढ्दो छ । यस्तै, न्युयोर्क र जेनेभामा रहेका संयुक्त राष्ट्रसंघीय (यूएन) स्थायी नियोगमा प्रमुखको म्याद सकिएको छ । सरकारले चैतमा चारवर्षे कार्यकाल सकिन लागेका न्युयोर्क र जेनेभाका मिसन प्रमुख र फ्रान्सका लागि नेपाली राजदूतको म्याद ३ महिना थपेको थियो । नयाँ राजदूत/प्रतिनिधि नियुक्ति नगरिएसम्म ती नियोग कार्यवाहक राजदूतले नै चलाउनेछन् । नियोगमा केही महत्त्वपूर्ण जिम्मेवारी प्रमुख वा राजदूतबाहेक अरू कसैले पनि गर्न मिल्दैन ।
नेपालको न्युयोर्कस्थित यूएन नियोग अहिले सबैभन्दा व्यस्त अवस्थामा छ । नेपाल अतिकम विकसित मुलुकहरूको अध्यक्ष मुलुक हो । नेपाल यूएनको आर्थिक तथा सामाजिक परिषद्को सदस्य पनि भएको छ । नेपालले सन् २०३७–३८ मा सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि उम्मेदवारी प्रस्तुत गर्ने पनि निर्णय लिइसकेको छ । यूएनको जेनेभास्थित नेपालको स्थायी नियोगमा मानवअधिकार परिषद्को काम गर्नुपर्ने हुन्छ । नेपाल लगातार दोस्रो पटक उक्त परिषद्को सदस्य बनेको छ ।
पूर्वराजदूत खगनाथ अधिकारी मुलुकको प्रभावकारी कूटनीतिका लागि कुनै पनि मुलुकमा राजदूत खाली राख्न नहुने बताउँछन् । ‘कूटनीतिमा राजदूत हुनैपर्छ । कार्यवाहक राजदूतले राजदूतको काम गर्न मिल्दैन । राजदूत नहुँदा दूतावासको दैनिक काममा असर पर्छ,’ उनले भने, ‘सम्बन्धित मुलुक वा नियोगमा राजदूत नहुँदा नेपालको छविमा असर पर्छ । राजदूत भनेको राज्यको प्रतिनिधि हो ।’
एकातिर विदेशस्थित नियोगमा नेतृत्व खाली हुँदै जाने र अर्कातिर परराष्ट्र मन्त्रालयमा सहसचिवहरूको घुइँचो लागेर बस्ने कार्यकक्षसमेत नहुने स्थिति देखिएको छ । राजदूत नियुक्त नहुँदा ती नियोगका कामकारबाहीमा असर परिरहेको परराष्ट्र मन्त्रालयकै अधिकारीहरू बताउँछन् । परराष्ट्र मन्त्रालयले ‘राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५’ तयार जारी गरेको थियो । निर्देशिकामा ‘राजदूतको कार्यकाल सकिनु तीन महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने’ उल्लेख छ । तर निर्देशिकाको उक्त व्यवस्थाअनुसार सरकारले बेलैमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन ।
नियुक्तिलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले रिक्त स्थानमा पदपूर्ति गर्ने प्रक्रिया तत्काल थाल्ने बताएका थिए । उनले यसो भनेको पनि तीन महिना हुन लागेको छ । अहिले सबै करिअरतर्फका राजदूत फर्केका/फर्कंदै गरेकाले परराष्ट्र मन्त्रालयका सहसचिव नै राजदूत भएर जानेछन् । नेपालका ३० मुलुकमा दूतावास र तीन संयुक्त राष्ट्रसंघीय स्थायी नियोग (न्युयोर्क, जेनेभा र भियना) छन् । यस्तै, विभिन्न मुलुकमा ७ वाणिज्य दूतावास छन् । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा (सन् २०११–१२) सरकारले राजदूतमा ५० प्रतिशत करिअर र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्ति गर्ने मापदण्ड बनाइएको थियो । कूटनीतिक सेवाबाट राजदूत भएर फर्किएकाको स्थानमा कूटनीतिक सेवाकै सहसचिव पठाउने तयारी भइरहेको परराष्ट्रले जनाएको छ ।
राजदूतको दाबेदारका रूपमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालको कार्यकाल ५ महिनापछि सकिँदै छ । सचिव पौड्यालपछि वरिष्ठताका आधारमा अन्य ६ सहसचिव राजदूतका दाबेदार देखिन्छन् । बेल्जियमका लागि नेपाली पूर्वराजदूत तथा हाल मन्त्रालयको उत्तर–पूर्वी एसियाका महाशाखा प्रमुख लोकबहादुर थापा, क्षेत्रीय संगठन महाशाखाका प्रमुख धनबहादुर ओली, शिष्टाचार महाशाखाका प्रमुख सुधीर भट्टराई, सामान्य प्रशासन महाशाखाका प्रमुख घनश्याम लम्साल, मध्यएसिया, पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख तेजबहादुर क्षत्री र दक्षिण एसिया महाशाखाका प्रमुख रामप्रसाद सुवेदी राजदूतका दाबेदार हुन् ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्साल मन्त्रालयले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिकाअनुसारै काम गर्ने लक्ष्य राखेको बताइन् । ‘एउटा राजदूतलाई संसदीय सुनुवाइदेखि एग्रिमो लिन झन्डै तीन महिना लाग्न सक्छ । हाम्रो चाहना एउटा राजदूतले अर्को राजदूतलाई आफ्नो जिम्मेवारी
ह्यान्ड–ओभर गरेर फर्किऊन् भन्ने हो । तर कार्यविधिअनुसार काम हुन पाएको छैन,’ उनले भनिन् ।
साउदअघि छोटो समय परराष्ट्रमन्त्री बनेकी विमला राई पौड्यालले राजदूत नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन् । तर गठबन्धनमा परिवर्तन आउने संकेत पाएपछि मन्त्रिपरिषद्ले राजदूत सिफारिस गरेन । ‘मैले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ अनुसार काम गर्नुपर्छ भनेर राजदूत नियुक्तिका लागि सिफारिस गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेकी थिएँ तर त्यो प्रस्ताव अघि बढेन,’ पौड्यालले भनिन्, ‘पछि पो थाहा भयो, गठबन्धन परिवर्तन हुन लागेको रहेछ । तर राजदूत जस्तो महत्त्वपूर्ण नियुक्तिमा कुनै राजनीतिक प्रयोजन देखिनुहुँदैन ।’
सरकारले कार्यविधिअनुसारै राजदूत नियुक्ति गर्न उचित हुने पूर्वराजदूत अधिकारी पनि बताउँछन् । ‘म बैंककमा राजदूत भएर काम गर्दा न्युजिल्यान्डबाट नयाँ राजदूत आएका थिए । उनीसँग पुरानो राजदूतले भेटवार्ता गराइदिए, त्यस्तै हुन जरुरी छ,’ उनले भने ।
अर्का पूर्वराजदूत दिनेश भट्टराई एक महिनासम्म राजदूत खाली हुनुलाई सामान्य मान्न सकिए पनि त्योभन्दा लामो समय मिसन प्रमुख रिक्त हुँदा कूटनीतिक रूपमा सही सन्देश नजाने बताउँछन् । ‘खाली राख्दा अन्तर्राष्ट्रिय तहमा नेपालको राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘लामो समय राजदूत खाली हुँदा दुई मुलुकबीचको सम्बन्धलाई ध्यान नदिएको हो कि भन्ने सन्देश जान्छ । विश्व राजनीतिमा अहिलेको परिस्थिति असाधारण छ, यस्तो अवस्थामा मिसन प्रमुख खाली राख्न हुँदैन ।’
राजदूत नियुक्ति मात्र होइन, भारत र चीन जस्तो महत्त्वपूर्ण मुलुकमा नियोग उपप्रमुख पनि सरकारले नियुक्त गर्न सकेको छैन । दुवै देशमा राजनीतिक नियुक्ति पाएका राजदूत छन् । उनीहरूलाई परराष्ट्रका सहसचिवले नियोग उपप्रमुखका रूपमा सहयोग गर्छन् । तर भारतमा एक वर्ष र चीनमा ६ महिना बितिसक्दासमेत परराष्ट्रको नेतृत्वले नियोग उपप्रमुख नियुक्त गर्न सकेको छैन । मन्त्रालयले झन्डै ३ वर्षमा सहसचिव कौशलकिशोर रायलाई न्युयोर्कमा नियोग उपप्रमुख नियुक्त गरेर पठाएको छ ।

समाचार

कोशीमा बजेट शून्यताको जोखिम

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयन रोकेर अर्को बजेट ल्याउने कसरतमा प्रदेश सरकार
- देवनारायण साह

(मोरङ)
कोशी प्रदेश बजेट शून्यतामा जाने जोखिम देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट कार्यान्वयन गर्नेसम्बन्धी दुईवटा अध्यादेशलाई अस्वीकार गर्न माग गर्दै कोशी प्रदेशसभामा दुईवटा सूचना दर्ता भएका छन् । प्रदेशसभाबाट अध्यादेश अस्वीकारसम्बन्धी सूचनाको प्रस्ताव बहुमतले पारित गरेमा ती अध्यादेश स्वतः निष्क्रिय हुने र प्रदेश बजेट कार्यान्वयनमा नगई शून्यतामा जाने जोखिम देखिएको छ । यसो भएमा प्रदेश सरकारले आउँदो साउन १ बाट गर्ने कुनै पनि सरकारी खर्चको अभिलेख लेख्न पाउँदैन ।
निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभालाई छलेर असंवैधानिक रूपमा अध्यादेशमार्फत बजेट ल्याएको भन्दै गठबन्धन दलहरू असन्तुष्ट थिए । जसअनुसार गठबन्धन दलहरूले बजेट कार्यान्वयन रोक्न अध्यादेश अस्वीकारको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् । तत्कालीन सत्ता साझेदार दल जनता समाजवादी पार्टी र माओवादी केन्द्रले आव २०८०/८१ को नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याउने मुखैमा आएर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनलाई जेठ ३१ मा अन्त्य गरी भोलिपल्टै अध्यादेशमार्फत बजेट ल्याएका हुन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन असार १४ मा बोलाएको प्रदेशसभा बैठकमा संविधानको धारा २०२ बमोजिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश २०८० र आव ०८०/८१ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०८० पेस गरेका थिए । संविधानको धारा २०२ को उपधारा (१) मा प्रदेशसभा चलिरहेको अवस्थामा बाहेक प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने व्यवस्थाअनुसार मुख्यमन्त्री कार्कीले अध्यादेशबाट बजेट ल्याएका थिए । उनले धारा २०२ को उपधारा (२) (क) मा प्रदेश प्रमुखबाट अध्यादेश जारी भएपछि बसेको प्रदेशसभाको बैठकमा पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्थाले बैठकमा दुवै अध्यादेश पेस गरेका थिए ।
प्रदेशसभामा अध्यादेश पेस भएपछि सभामुख बाबुराम गौतमले दुवै अध्यादेश अस्वीकार गर्न चाहने प्रदेशसभा सदस्यलाई प्रदेशसभा नियमावली २०७४ को नियम ८१ को उपनियम (१) बमोजिम तीन दिनभित्र प्रदेशसभा सचिवालय प्रस्ताव दर्ता गराउन समय दिएका थिए । उक्त समयसीमाभित्र कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले अध्यादेश अस्वीकारको सूचना छुट्टै दर्ता गराएका थिए भने माओवादीका नारायणबहादुर मगर, एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बू र हालका मन्त्री कमलप्रसाद जबेगुले पनि संयुक्त रूपमा अध्यादेश अस्वीकारको सूचना दर्ता गराएका हुन् ।
मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तारपछि प्रदेशसभा बैठक बोलाएर अध्यादेश अस्वीकारको प्रस्ताव पारित गराउँदै नयाँ बजेट ल्याउने बताए । अर्थविद्हरू भने मुख्यमन्त्री थापाले भनेझैं तत्काल नयाँ बजेट ल्याउन कठिन हुने बताउँछन् । साउन १ भित्र प्रदेशसभा बैठक बोलाउने र त्यसमा अध्यादेश निष्क्रिय भएपछि मात्रै नयाँ बजेट ल्याउन मिल्ने प्रक्रियागत झमेलाले प्रदेश बजेट शून्यतामा जाने जोखिम रहेको अर्थविद् प्रा. डा. वेदराज आचार्यले बताए । ‘अहिलेको सरकार एकदलीय नभएकाले पनि गठबन्धन दलमा सहमति जुटाएर बजेट तयार गर्न समय लाग्छ,’ उनले थपे, ‘त्यसपछि कर्मचारीको प्रक्रियागत कामले यो अबको ८ दिनभित्र अर्को बजेट ल्याउने अवस्था नभएकाले प्रदेश बजेट शून्यतामा जाने निश्चित छ ।’
त्यसो त, सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको भन्दै एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ । यसको सुनुवाइका लागि आइतबार पेसी तोकिएकाले पनि बजेट शून्यताको जोखिम बढाएको जानकारहरू बताउँछन् । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत सम्हालेका तत्कालीन मुख्यमन्त्री कार्कीले अध्यादेशमार्फत आउँदो आव २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएका थिए । जसमा चालुतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेका छन् ।


मन्त्रिपरिषद् विस्तारको तयारी
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको भन्दै एमालेले दिएको रिटमाथि पनि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ ।  
‘गठबन्धनका प्रत्येक दलबाट एक/एक जना सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छु,’ मुख्यमन्त्री थापाले भने, ‘आइतबार माओवादीबाट एक जनालाई मन्त्री नियुक्त गर्छु ।’ तर माओवादीले मन्त्रीमा दुई जनालाई पठाउने तयारी गरेको बुझिएको छ ।
माओवादी संसदीय दलले मन्त्रीका लागि नाम छनोटका लागि गठन गरेको कार्यदलले प्रदेश सांसदद्वय जीवन आचार्य र नारायणबहादुर मगरलाई सरकारमा पठाउने निर्णय गरेको माओवादीका एक सांसदले बताए । कार्यदलमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, पार्टीका प्रदेश इञ्चार्ज राम कार्की र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ छन् । आचार्य प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँसमेत हुन् । उनी निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा समेत चार महिना पर्यटन, वन तथा वातावरणमन्त्री थिए । माओवादी स्रोतका अनुसार आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सहमति भइसकेको छ । कार्यदलले मन्त्रीका लागि छनोट गरेका अर्का सांसद मगरले मन्त्रीमा आफ्नो नाम छनोट भएको सुनेको बताए । ‘तर आइतबार शपथग्रहणबारे केही जानकारी आएको छैन,’ उनले भने । संसदीय दलका नेता आङ्बोले पनि माओवादी आइतबार सरकारमा सहभागी हुने बताए ।
मुख्यमन्त्री थापाले पहिलो पटक विस्तार गर्न लागेको मन्त्रिमण्डलमा जसपा सहभागी नहुने भएको छ । जसपा मन्त्रिपरिषद् बैठकले आन्दोलनरत पहिचान पक्षधरसँगको वार्ताका लागि टोली गठन गरी उनीहरूका मुद्दा सम्बोधनको विषयमा निर्णय गरेपछि मात्रै सरकारमा सहभागी हुने बताइएको छ । निवर्तमान मुख्यमन्त्री कार्कीले असार १५ मा प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । सोहीबमोजिम गठबन्धन दलले कांग्रेसका उद्धव थापाको नेतृत्वमा सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित बहुमत ४७ सांसदको समर्थन रहेको भन्दै सरकार गठनका लागि दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले प्रदेश सांसदको हैसियतमा सभामुख गौतमको हस्ताक्षरसहित बहुमत पुर्‍याएको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया असंवैधिानिक भन्दै एमालेका तत्कालीन मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेका थिए ।

समाचार

प्रधानमन्त्रीको ध्यान मोर्चा विस्तारतर्फ

- मणि दाहाल

(काठमाडौं)
एमालेसहित विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध पारिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल भने समाजवादी मोर्चालाई बलियो बनाउनतर्फ लागेका छन् । बिहीबार सत्तारूढ गठबन्धनको बैठक राखेर राजीनामा नदिने र संसद् फेस गर्ने निर्णय गराएका प्रधानमन्त्रीले शनिबार मोर्चाको बैठक राखेर त्यसलाई प्रदेश तहसम्म लैजाने निर्णय गराएका छन् ।
विपक्षी दलहरूको अवरोधका कारण बुधबारदेखि संसद् बैठक बस्न सकेको छैन । मिटरब्याजपीडितलाई न्याय दिने कानुन शून्य अवस्थामा पुगेको छ तर दाहाल संसद् अवरोध खुलाउन पहल गर्नुको साटो सत्ता गठबन्धनभित्रै बनेको मोर्चालाई थप सक्रिय बनाउनतिर लागेका छन् । सभामुख देवराज घिमिरेले गतिरोध अन्त्य नभएसम्मका लागि संसद् बैठक नराख्ने बताएका छन् । एमालेले प्रधानमन्त्री दाहालले संवाद गर्न नखोजेको बताएको छ । एमाले र राप्रपाले प्रधानमन्त्रीको राजीनामा मागेका छन् भने अर्को विपक्षी दल रास्वपाले दाहालको जवाफ खोजेको छ ।
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन एक व्यापारी पटक–पटक भारतमा पुगेर प्रयास गरेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन् । विपक्षी दलले बुधबार बैठक सुरु हुनेबित्तिकै त्यो अभिव्यक्तिको विरोध गरेका थिए । सभामुख घिमिरेले बिहीबारसम्मका लागि पहिले स्थगित गरेको बैठकलाई शुक्रबारसम्म सारेका थिए । शुक्रबार पनि बैठक नराखी आइतबारलाई सारेका छन् ।
गठनको तीन सातापछि शनिबार पहिलो औपचारिक बैठक गरेको मोर्चाले आफ्ना गतिविधि विस्तार गर्ने प्रयास गरेको छ । माओवादी, जसपा, एकीकृत समाजवादी र नेकपा सम्मिलित मोर्चाले नीति तथा कार्यक्रमका लागि कार्यदल, ६ महिनाका लागि संयोजक र प्रदेशस्तरमा कार्यक्रम गर्ने घोषणा गरेको छ । शनिबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको मोर्चाको पहिलो बैठकले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई संयोजक तोकेको छ । प्रदेशमा मोर्चा गठनको विषयमा सन्देश दिन प्रदेशस्तरमा कार्यक्रम गर्ने निर्णय गरेको छ र नीति, कार्यक्रम तथा आचारसंहिता निर्माणका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।
बैठकमा संलग्न एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जिल्ला तहसम्म मोर्चाको संयन्त्र गठन गर्ने तयारी रहेको बताए । ‘अहिले हामी प्रदेशस्तरसम्म जान्छौं, आगामी २७ गते मोर्चाको दोस्रो बैठक बस्छ, त्यसले प्रदेशस्तरमा राजधानीहरूमा सन्देशसभाको मिति घोषणा गर्छ,’ उपाध्यक्ष पाण्डेले भने, ‘सन्देशसभामै मोर्चाको प्रदेश संयन्त्रको घोषणा हुनेछ । आवश्यकताअनुसार जिल्ला तहसम्म पुर्‍याउँछौं ।’ मोर्चाको अध्यक्ष ६–६ महिनामा परिवर्तन गर्ने सहमति भएको उनले बताए ।
बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । माओवादीका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा कार्यदलमा रहेको उपाध्यक्ष पाण्डेले बताए । कार्यदलले २७ गते बस्ने बैठकमा प्रतिवेदन पेस गर्नेछ ।
प्रतिनिधिसभामा मोर्चाका ५४ सांसद छन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । पहिलो दल कांग्रेस र दोस्रो दल एमाले नमिलेको अवस्थामा मोर्चालाई बाहिर राखेर सरकार गठन हुन सक्दैन ।

समाचार

सञ्चार सचिव राउत पनि जोडिए

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकरका बहालवाला सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत पनि मुछिएका छन् । माधवकुमार नेपाल नेतृत्वको सरकारले प्रधानमन्त्री निवास विस्तार गर्ने नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिने निर्णय गर्दा राउत भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए । त्यसबेला मन्त्रालयले समरजंग कम्पनीका नाममा रहेको जग्गा नक्कली मोही र बिचौलियालाई दिने निर्णय अघि बढाएको थियो । आर्थिक प्रशासन शाखामा अधिकृत रहेका राउतले जग्गा सट्टाभर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्नेसम्बन्धी टिप्पणी उठाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
त्यतिबेला विजयकुमार गच्छदार उपप्रधानसहित भौतिक योजनामन्त्री र सञ्जयकुमार साह राज्यमन्त्री तथा दीप बस्न्यात सचिव थिए । नारायणगोपाल मलेगो मन्त्रालयमै भवनसम्बन्धी हेर्ने सहसचिव थिए । टिप्पणी उठाउन उपसचिव नरहरी भण्डारीलाई जिम्मा दिइए पनि उनी सामेल नभएपछि राउतलाई त्यसको जिम्मा दिइएको थियो । राउतले टिप्पणी उठाएको फाइल सहसचिव, सचिव हुँदै मन्त्रीबाट स्वीकृत भएर मन्त्रिपरिषद् पुगेको थियो । प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि भूमाफियाको योजनामा जग्गा सट्टाभर्नाको काम फत्ते भएको थियो ।
सञ्चार सचिव राउतले त्यसबेला टिप्पणी उठाएको सही भएको तर आफूले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने भनेर निर्णय नगरेको प्रतिक्रिया दिए । ‘म भौतिक योजना मन्त्रालयमा शाखा अधिकृत थिएँ । त्यही बेला प्रधानमन्त्री निवास विस्तारको विषय आएको थियो । खासमा टिप्पणी उठाउने जिम्मा उपसचिव नरहरी भण्डारीको थियो । तर मलाई फाइल पेस गर्न भनियो,’ राउतले कान्तिपुरसँग भने, ‘भित्री कुरा के थियो, थाहा थिएन । नियमित काम भनेर टिप्पणी उठाएँ । अख्तियारले बोलाएपछि मात्रै पो बदमासी कसरी भएछ भन्ने थाहा पाएँ ।’ यस प्रकरणमा आफू निर्दोष रहेको भन्दै उनले अनुसन्धानमा प्रहरीलाई सघाउने बताए । ‘अख्तियारमा पनि यही कुरा भनेको हुँ । मैले अह्राएको काम गरेको थिएँ । अहिले प्रहरीले बोलायो भने पनि यही कुरा भन्ने हो । मैले बदनियत राखेको छैन । कसैको केही खाएको पनि छैन,’ उनले भने ।

Page 6
दृष्टिकोण

पपुलिजम : लोकतन्त्रको खतरा

- शेखर कोइराला

भर्खरै म केही नेपाली र विदेशी अध्येताहरूसँग छलफलमा व्यस्त थिएँ । सोही क्रममा अचानक एक विदेशी मित्रले नेपालको आन्तरिक अवस्थाप्रति चिन्ता व्यक्त गरे, जसरी अमेरिकामा डोनाल्ड ट्रम्पको पदावधि सकिएर जो बाइडन आउने समयमा बहस भएको थियो । उनले नेपालको लोकतन्त्रलाई लिएर असहजता देखाउनुले मलाई थप चिन्तित तुल्यायो । ती विदेशी मित्रको जिज्ञासा थियो— नेपालमा संविधान बनेपछि धेरै विषय टुंगो लाग्दै देश विकासको लयमा हिँड्ने विश्वास थियो, तर दलहरूकै आन्तरिक कलहका कारण अर्को शक्ति लोकप्रियतावाद (पपुलिजम) पो देखियो । यसले गर्दा मुलुकको विकासको गतिमा अवरोध आउनेछ भने लोकतन्त्रका लागि खतरा हुन सक्छ ।
एक्स्ट्रिम पपुलिजम (अति लोकप्रियतावाद) बाट आएकाहरूले विश्वमा केही परिवर्तन गर्न सकेका छैनन् । तर आम नागरिक त्यसतर्फ अग्रसर देखिनु भनेको दलहरूप्रतिको विश्वास टुट्नु हो । एकाएक दलभित्रकै लोकतन्त्रमा देखिएको दण्डहीनता र बिचौलियातन्त्रबाट निम्तिएको पपुलिजमका कारण नेपालको राजनीतिक व्यवस्था धरापमा परेको चिन्ता ती सज्जनको थियो ।
उनी भन्दै थिए— आधारभूत लोकतन्त्र स्थापित भइसकेका देशमा नयाँ प्रकारका जटिलता, समस्या र चुनौती आउँछन् । लोकतन्त्र स्थापनापछि के गर्ने, कसो गर्ने र कसरी अघि बढ्ने भन्नेमा अन्योल हुँदा यस्तो भएको हो । लोकतन्त्र गैरलोकतान्त्रिक शक्तिबाट सधैं खतरामा हुन्छ । तर लोकतन्त्रकै भेषमा दलहरूविरुद्ध हुने गतिविधि झनै डरलाग्दा हुन्छन् ।
म जोसँग छलफलमा थिएँ, उनी सामान्य व्यक्ति थिएनन् । अमेरिकाको ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ केलाउनसमेत सक्षम उनी विश्वविद्यालयमा पढाउँछन् । नेपालजस्ता भूराजनीतिक अवस्थामा रहेका मुलुकहरूको अध्ययन गर्दै हिँड्छन् । उनी भन्दै थिए— चतुर राजनीतिज्ञहरूले धेरै पहिलेदेखि नै मूल्यले शक्ति सृजना गर्छ भन्ने बुझेका हुन्छन् । त्यहीँबाट आफूले चाहेको काम गराउँदा कुनै पनि बल र पैसाको प्रयोग गर्नुपर्दैन । त्यो राजनीतिज्ञहरूले नबुझ्दा र गर्न नसक्दा लोकप्रियतावादबाट अरू नै आउनु भनेको लोकतन्त्र थप संकटमा फस्नु हो ।
हामी त्यही बाटोमा छौं । यसलाई मनन गर्न नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले ढिलाइ गर्न हुँदैन ।

विश्वमा नै लोकतन्त्रको ह्रास
दुईतीन सय वर्षदेखि लोकतन्त्रको अभ्यास गरिरहेको मुलुकमा समेत यस प्रकारको समस्या देखिएको छ । जब लोकतान्त्रिक मूल्यमान्यताभन्दा पनि हूलको निर्णय हुन्छ तब मुलुकको अधोगति सुरु हुन्छ । नेपाल विकासको चरणमा प्रवेश नगरी अधोगतिमा लाग्ने चिन्ता धेरैमा छ । हामीकहाँ पछिल्लो समय निकै चर्चामा रहेको लोकप्रियतावाद अर्थात् पपुलिजम बलियो हुँदै गएको छ । गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनले त्यसलाई पुष्टि गरिसकेका छन् ।
केही स्वतन्त्र मेयरहरूको जित र एक वर्षअघि स्थापित पार्टीले निर्वाचनमा मारेको छलाङ पर्याप्त छ, लोकप्रियतावाद बुझ्न । लोकतन्त्रमा सबै प्रक्रिया विधिवत् हुन्छन् । तर यहाँ त विधिभन्दा पनि सत्ता टिकाउने र कसैलाई खुसी पार्ने राजनीतिको बोलवाला हुन थालेको छ ।
हार्वर्ड विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापकहरू डेनियल जिब्लाट र स्टेभन लेभित्स्कीले युरोपेली र दक्षिण अमेरिकी लोकतान्त्रिक प्रणालीबारे दुई दशक अध्ययनपछि ‘हाउ डेमोक्रेसिज डाई’ पुस्तकमा निष्कर्ष निकालेका छन्— विगतको लोकतन्त्रका तीन मुख्य जोखिम थिए: सैनिक कु, कम्युनिजम र फासीवाद । शीतयुद्धको अन्त्यसँगै ती पराजित भए । अब त्यस्तो अवस्था छैन । तर वर्तमान लोकतन्त्रको जोखिम स्वयं लोकतन्त्रभित्रबाटै ‘डेमागग’ (भावोत्पादक भाषणमार्फत जनतालाई उत्तेजित पार्ने नेता) हरूको उदय हुनु हो । अर्थात्, लोकतन्त्रभित्रका छद्मभेषीहरूबाट यस्तो खतरा उत्पन्न हुन्छ ।
लोकतन्त्रको संघर्ष लोकतन्त्रभित्र रहेर अघि बढेको ‘एक्स्ट्रिम पपुलिजम’ सँग छ । भन्ने गरिन्छ— लोकतन्त्रको चुनौती उत्तर–लोकतान्त्रिक चरित्र हो । उदाहरणका लागि, राजनीतिक नेतृत्वबाट अदालतलाई कमजोर बनाउने काम । अदालतले निर्णय गर्ने र राजनीतिज्ञले मिलाएर आममाफी दिने काम । एकातिर आममाफी दिनु र अर्कातिर एकल जितबाट आएकाहरूले अदालतलाई मान्दिनँ भन्दै हिँड्नु भनेको संविधान विफल पार्ने षड्यन्त्र त होइन भन्ने प्रश्न खडा भएको छ । यो कुरा सत्तामा रहेका दलहरूले नै बुझ्न सकेका छैनन् ।
संसारमा अहिले यस्तै लहर चलेको छ । ६ जनवरी २०२१ मा अमेरिकी जनप्रतिनिधिहरूको थलोमा ट्रम्पका समर्थकहरूले आक्रमण गरे । यस घटनाबाट अमेरिकाका मित्र मात्र होइन, अन्य मुलुकसमेत स्तब्ध भएका थिए । अमेरिकाको स्थितिले धेरैमा त्यस मुलुकप्रति विकर्षण पैदा गर्‍यो । अमेरिकाप्रतिको आकर्षण पुनः पहिलेकै अवस्थामा फर्किन सक्छ भन्ने प्रश्न खडा भएको थियो ।
नागरिकको भाव बुझेर राजनीतिक दोहन गर्ने र मनोवैज्ञानिक भावबाट आम मतदाताको भावनासँग खेलेर आउने शासक झन् डरलाग्दा हुन्छन् । असल र खराब सँगै हिँड्छन् । लोकतन्त्रमा असलले केही गर्न नसकिरहेको अवस्थामा खराबले भ्रम छरेर म पो गर्ने मानिस हुँ भन्दै लोकलाई रिझाउन जानेको हुन्छ । त्यसरी निर्वाचन जितेर आएपछि लोकप्रियतावादको वर्चस्व हुन्छ । डेमागग भनेको पनि यही हो ।
यस्ता राजनीति गर्नेहरू आम नागरिकका कमजोर पक्षहरूको पूर्वानुमान गरेर के भन्दा उनीहरू खुसी हुन्छन्, त्यो पक्ष रोज्छन् । के गर्दा धेरैको ध्यान खिच्न सकिन्छ, त्यो गर्छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई आफूअनुकूल उपयोग गर्छन् । हामीले गर्ने काम स्थापित दलले गर्न दिएन भनेर लाञ्छना लगाउने र कुरा बढी गर्ने गर्छन् । आम नागरिकले त्यस्ता कुरा पत्याउँछन् । किनकि डेमागगहरूले पनि जादुगरले जसरी मानिसको ध्यान खिच्न सक्छन् ।
डेमागगहरूले निर्वाचनमा अनेकौं वाचा र प्रतिबद्धता पनि गर्छन् । त्यो सुनेर भीड बढ्न थाल्छ । उनीहरूले भोट आकर्षित गर्ने क्षमता राख्छन् । ‘अधिनायकवाद जब लोकतान्त्रिक निर्वाचनबाटै अनुमोदित हुन्छ, त्यो लोकतन्त्रका लागि मन्द विषसरह हुन्छ ,’ ती दुई लेखकले स्पष्ट पारेका छन्, ‘घृणा, प्रतिशोध र सरलीकृत सुखको इच्छाबाट निःसृत सत्ताले विवेक गुमाउँछ । फलतः बिस्तारै, सहजै, संवैधानिक तवरले लोकतन्त्रकै हत्या हुन पुग्छ ।’
पछिल्लो समय राजनीतिक दलहरूको कार्यशैली र एकअर्कालाई हेर्ने भाव नियाल्दा हामी पनि त्यही बाटोमा त छैनौं भन्ने आशंका उब्जिन थालेको छ । किनकि निर्वाचन जित्नका लागि आम नागरिकलाई कार्यकर्ताको व्यवहार गर्ने र स्वतन्त्र अधिकार नदिनेजस्ता कार्यले पनि लोकतन्त्रमा डेमागगको वर्चस्व देखिएको छ ।
सन् १९६० को दशकमा जर्ज वालेसजस्ता पपुलिस्ट डेमागगले अमेरिकामा त्यति बेलै घृणा बढाउने काम गरिरहेका थिए । त्यसरी अलोकप्रिय भएको अमेरिका एक दशकभित्र नै कैयौं राजनीतिक सुधार गरेर लागू गर्दै पुनः विश्वनेतृत्वमा फर्किरह्यो । राष्ट्रपति गेराल्ड फोर्डको इमानदारी, जिम्मी कार्टरको मानव अधिकारवादी नीति र रोनाल्ड रेगनको आशावाद अमेरिकाको आकर्षण पुनः माथि उठाउन सहयोगी रहे । अश्वेत मानव अधिकार आन्दोलनमा घन्केका गीतहरूले अमेरिकाको शक्ति त्यहाँको सरकारी नीतिमा नभएर मुख्यतः नागरिक समाज र यसको आत्मालोचना एवं सुधारको क्षमतामा भर पर्ने वकालत गर्‍यो र त्यहाँ कसैले पुनः लोकतन्त्रलाई तलमाथि गर्न सकेन । लोकतन्त्रको लयमै सबै काम हुँदै गयो ।
स्वतन्त्र प्रेस, स्वतन्त्र अदालत र शान्तिपूर्ण प्रदर्शन अमेरिकाजस्तो लोकतान्त्रिक मुलुकमा सफ्ट पावरका सबभन्दा ठूला स्रोत हुन् । गलत सरकारी नीतिले अमेरिकाप्रतिको आकर्षण घटाउँदा पनि अमेरिकीहरूको आत्ममूल्यांकन तथा आत्मसुधारको क्षमताले अरूलाई आकर्षित गर्छ । हामीकहाँ चाहिँ सुधार गर्नेभन्दा आफैं सत्तामा आउन मरिहत्ते गर्ने प्रवृत्तिका कारण समस्या भएको हो ।  
अन्त्यमा, अमेरिकी लोकतन्त्र पूर्णतः ठीक छ भन्ने होइन । ट्रम्पको शासनकालले थुप्रै प्रजातान्त्रिक मूल्यमा क्षति पुर्‍याएको छ । राजनीतिक ध्रुवीकरण अझै छ । अधिकांश रिपब्लिकन ट्रम्पले निर्वाचनताका भनेका झुटहरूमा विश्वास गर्छन् । सामाजिक सञ्जालमा प्रयोगकर्ताको ‘इंगेजमेन्ट’ बढाएर नाफा कमाउने अल्गोरिदममा भ्रम छर्ने व्यवसाय मौलाएको छ । यहाँ पनि सामाजिक सञ्जालका फलोअर्समार्फत नै व्यक्तिको लोकप्रियता मापन गर्न थालिएको छ । फलोअर्स स्वस्फूर्त हो भन्नेमा कसैले प्रश्न गरेको पाइँदैन । जब प्रश्न गर्न छोडिन्छ तब लोकतन्त्र धराशायी बन्नेछ ।
लोकतन्त्रलाई आफूअनुकूल बनाएर हामी किन अघि नबढ्ने ? हाम्रो संघीय संरचनालाई किन अन्यसँग मूल्यांकन गर्ने ? हामीले लेखेको संविधानलाई करेक्सन गर्दै संघीयता सम्बन्धी काम लाग्ने र उपयोगी पाटोलाई राखेर सच्चिँदै अघि बढ्न आवश्यक छ । अन्यथा, नेपालमा लोकतन्त्र नरहने र संविधान कार्यान्वयन सबल नहुने देखिन्छ । यहाँ प्रणालीले भन्दा भीडले काम गर्ने चलन आएको हो कि ? संघीय लोकतन्त्र बचाउन आवश्यक छ । लोकतन्त्रले बलिया, निष्पक्ष, तटस्थ र मौलिक संस्थाहरूको कल्पना गर्छ । ती संस्थाका आआफ्ना कार्यक्षेत्र, अधिकार र कर्तव्यको दायरा, मर्यादा र सीमा हुन्छन् ।
डेमागगहरूले संस्थाहरूलाई शक्तिको छायामा लल्याकलुलुक हुने गरी ‘ओभरल्याप’ गर्छन् । बाहिर अनेक नाटक देखाउँछन्, तर भित्री रूपमा अर्कै काम गरिरहेका हुन्छन् । त्यसमा सचेत रहेर लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउनुपर्छ । ‘हाम्रा’ भन्दा ‘राम्रा’ मानिसहरू ल्याएर संस्थाहरूलाई अब्बल बनाउनु आवश्यक छ । नागरिकमा संस्थाहरूप्रतिको विश्वास समाप्त हुनु भनेको लोकतन्त्र मर्नुसरह हो । त्यसलाई विश्वासिलो बनाउनुपर्छ । नेता देख्नेबित्तिकै नागरिकमा बिचौलियाको इमेज आउनु भनेको नेताले लोकतन्त्र डुबाउँदै लगेको पुष्टि हुनु नै हो । त्यसमा अनुशासित हुन आवश्यक छ ।
मुलुक शक्ति पृथकीकरणबाट चल्नुपर्ने हो । शक्ति पृथकीकरणभन्दा विपरीत ‘सेटिङ राज्य’ चल्नुले सतही रूपमा विधिको शासन, नियन्त्रण र सन्तुलनको अवधारणा क्रियाशील भएको पुष्टि गर्छ  । व्यवहारमा शक्ति सम्भ्रान्तहरूको घेरा निर्माण भइरहेको छ । जथाभावी बोल्ने, नचाहिँदा कुरामा समय बिताउने, काम गर्न स्थापना गरेको निकायलाई केही गर्न नदिने प्रवृत्तिले पनि नेपालको भविष्यमा तुषारपात हुन लागेको देखाउँछ ।
त्यही घेराबाट राज्य चलिरहेको छ, जुन ‘सेटिङ राज्य’ को नमुना हो । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक निकाय र आयोगहरू अर्कै शक्तिले चलाइरहेका उदाहरण छन् । ती निकायमा उपयुक्त व्यक्ति चयन गरी राम्रोसँग काम गर्न दिने र छिमेकसँग आफूअनुकूलको सम्बन्ध स्थापना गर्ने, विश्वशक्तिसँग आफैंले चाहेझैं काम गर्ने गर्नुपर्छ ।
यहाँ त न्यायाधीशहरू नियुक्तिपत्र खल्तीमा बोकेर पार्टी कार्यालय पुगेको पनि देखियो । आफ्नाहरू अवसरबाट छुटे, अब तिनलाई दिनुपर्छ भनेको पनि सुनिए । अनि कसरी नागरिकमा शासनप्रति विश्वास पैदा हुन्छ ? त्यस्ताबाट विधिको शासन कसरी पालना हुन्छ ? अनि लोकप्रियतावादबाट आएकाहरू अदालतले गरेको निर्णयलाई लिएर भड्किनु स्वाभाविक पनि हो ।
भ्रष्टाचारका यति धेरै घटनाबीच अख्तियार मौन बस्नु र छिटफुट विषयमा मात्र छलफल हुनु दुःखद हो । राज्यका ठूला आर्थिक क्रियाकलापमा बिचौलियाहरू र ‘कमिसन एजेन्ट’ को उपस्थिति शासन शैलीको एउटा अनिवार्य सर्त बनिसकेको छ । उनीहरू दल वा सत्तामा रहेका व्यक्तिनिकट हुन्छन् र सघाउने गर्छन् । नीतिमा परिवर्तन गरेर ठूलो घोटाला गरेका हुन्छन् । यसमा हामीले सचेत भएर लोकतान्त्रिक मान्यता र मूल्यलाई अघि बढाउन सक्नुपर्छ । हामीले राणा धपाएदेखि गरेको लोकतान्त्रिक अभ्यासलाई खलबल्याउने होइन, थप बलियो बनाउनुपर्छ ।
यसका लागि दलभित्रैबाट शुद्धीकरण आवश्यक छ । त्यो काम लोकतान्त्रिक दल नेपाली कांग्रेसबाट सुरु गर्न अब ढिलाइ गर्न हुँदैन । दलभित्र विभाग बनाउने, विभाग अनुसारको दखल राख्ने व्यक्तिलाई जिम्मेवारी दिने गर्नुपर्छ । युवालाई मुलुकभित्रै राख्ने वातावरण तय गर्नुपर्छ । दण्डहीनता र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सके मात्रै मुलुक बन्छ । अन्यथा सधैं समस्या ।

सम्पादकीय

कोशीमा बगेको सभामुखको नैतिकता

संघका बेथितिबाट सतर्क रहनुपर्ने प्रदेश आफैं नयाँ विकृतिको पनि जननी बन्नु दुर्भाग्यपूर्ण छ । मुख्यमन्त्रीमाथि सदनको विश्वास छ कि छैन भनेर परीक्षण गर्ने तराजु लिएर बसेका कोशी प्रदेशका सभामुख आफैंले मुख्यमन्त्री नियुक्ति–प्रस्तावमा हस्ताक्षर गर्नु नैतिक, राजनीतिक र संवैधानिक रूपमा स्वाभाविक र स्वीकार्य छैन । नेपालले अभ्यास गरेको संसदीय लोकतन्त्रले यस्तो उपहास देखेको पनि थिएन । आफूलाई सरकारको समर्थकका रूपमा उभ्याएर सभामुख बाबुराम गौतमले आफ्नो पदीय मर्यादाकै हुर्मत लिएका मात्र छैनन्, हुर्कंदो संघीय प्रणालीलाई बदनाम गर्ने प्रयास गरेका छन् । यसलाई सम्बन्धित संवैधानिक संस्थाहरूले नसच्याउने हो भने भोलि यस्ता विकृतिको बाढी लाग्नेछ । त्यसैले यसलाई प्रथम अभ्यासमै निष्क्रिय बनाउनुपर्नेछ ।
सदनमा तटस्थ भूमिका निर्वाह गर्नुपर्ने भएकाले सभामुख हुने व्यक्तिले आफू संलग्न राजनीतिक दलबाट राजीनामा दिने अभ्यासै छ । गौतमले पनि प्रदेशसभाको पहिलो बैठकमै दल त्यागको घोषणा गरेकै थिए, जसको मर्म भने उनले बुझेका थिएनन् भन्ने अहिले प्रस्ट भएको छ । सदनमा साझा अभिभावक बन्नुपर्ने उक्त पदको भूमिका सधैं निष्पक्ष हुनुपर्छ । मत विभाजनमा बराबरी हुँदा निर्णायक मत दिनु एउटा विशिष्ट परिस्थिति हो, सांसदविशेषका रूपमा गौतमलाई यो अधिकार पक्कै छ, तर सभामुखका हैसियतमै सुरुमै लामबद्ध हुन कुनै पनि बहानामा मिल्दैन । उनले ‘आफ्नो भूमिकामा प्रश्न उठे राजीनामा दिन तयार छु’ त भनेका छन्, तर यसले मात्र पनि समस्याको समाधान गर्दैन । सभामुख पदको मूल्य मिच्दा भैसकेको क्षति अब दिने राजीनामाले पूर्ति गर्दैन । अहिले कोशीमा खडा गरिएको सरकार नै प्रदेशका लागि निर्विकल्प हो भन्ने लागेको भए उनले पहिल्यै सभामुख पद त्यागेर मात्र सरकार निर्माणमा सहभागी हुनुपर्थ्यो । तर उनले संवैधानिक अभ्यास खलबलाएका छन्, त्यसैले उनको राजीनामा मात्र पर्याप्त छैन । उनको कदमले सिर्जना गरेको अवस्थाको बारेमा पनि संवैधानिक निकायबाट निरूपण हुनुपर्छ, जसले भविष्यमा कसैले पनि यस्तो कदम दोहोर्‍याउने विषयमा सोच्न पनि नसकोस् ।
कोशीमा सरकार गठनका लागि बहुमत पुर्‍याउन दलहरूलाई सकसपूर्ण अवस्था पक्कै थियो । तर लोकतन्त्रमा कुनै पनि अवस्था विकल्पहीन हुँदैन । संविधानले निर्दिष्ट गरेका सबै विकल्प प्रयोग गरेपछि ताजा जनादेशमा जान सकिने पनि लोकतान्त्रिक अभ्यास नै हो । यद्यपि, देशलाई चुनावलगत्तै चुनावमा लग्ने कि नलग्ने भन्ने विषय देशका जिम्मेवार राजनीति दलका नेताहरूले सोच्ने विषय हो । केही थान पदका लागि नै नेताहरूले त्यो विकल्प रोज्छन् भने उचित मूल्यांकन गर्ने अधिकार जनतासँग छँदै छ । स्वाभाविक नियमभित्र रहेर राजनीति नगर्दा दलहरूले यसरी पद्धति नै भत्काउन पुगेका छन् । उता, सभामुखको समर्थनलाई मान्यता नदिएर एउटा गलत अभ्यासलाई रोक्नबाट प्रदेश प्रमुख परशुराम खापुङ पनि चुकेका छन् ।
उदेकलाग्दो त, प्रदेशमा रचिएको यस विकृतिको मतियार भने फेरि पनि संघ स्वयं हो । सरकार गठनमा सभामुखलाई सामेल गर्ने कि नगर्ने भन्ने मतभेदबीच बिहीबार दिउँसो काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकले सभामुख गौतमलाई समेत समर्थन गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेस गर्ने निर्देशित गरेको थियो । बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पक्षमा समर्थन दिन कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको प्रदेश संसदीय दललाई निर्देशन दिएको थियो । एक त प्रदेश राजनीतिमा पनि संघकै निर्णायक भूमिका हुनु नै संघीय मान्यताको विरुद्धमा छ, प्रदेश स्वयंको हित प्रतिकूल छ, अर्को संसदीय लोकतन्त्रका मूल्यमान्यताहरू खण्डित तुल्याउन प्रदेशदेखि संघसम्मै संलग्न हुनु उत्तिकै प्रत्युत्पादक छ ।
यस घटनाले मूलतः नेपाली राजनीतिमा नयाँ खाले संसदीय विचलनको भय जन्माएको छ । किनभने, हामीले अभ्यासमा ल्याएको मिश्रित निर्वाचन प्रणालीमा एउटै दलको बहुमत पुग्न मुस्किल छ । अहिले नै पनि संघ मात्र होइन, प्रदेशहरूमा पनि अनेकन् दलहरू संसद्मा छन् । र, न गठबन्धन संस्कृति स्वाभाविक, तर्कसंगत र बलियो बन्न सकेको छ, न निकट भविष्यमा स्वतः द्विदलीय प्रणाली विकसित हुने लक्षण देखिन्छ । तीनवटा दल मिल्दा पनि सरकार बन्न नसक्ने अवस्था दोहोरिरहने देखिन्छ, जहाँ स्वाभाविक रूपमा एक सांसद अर्थात् एक भोटको पनि महत्त्व हुन्छ । यस्तो अवस्थाको सम्बोधन भने परिपक्व राजनीतिक संस्कारबाट मात्र सम्भव छ । संघमा एउटा गठबन्धनको सरकार बन्दा सबै प्रदेशमा त्यसको प्रभाव पर्ने अवस्थालाई राजनीतिको अनिवार्य सर्त बनाउनु नै गलत छ । हरेक प्रदेशको विशिष्ट भूगोल, संस्कृति, राजनीति र प्राथमिकता हुन्छ । त्यसलाई सम्बोधन गर्ने राजनीतिक अवस्था र व्यक्तिहरूको पनि आआफ्नै परिचय र योग्यता हुन्छ । त्यो विविधतालाई नबुझी केन्द्रको तालमा ताल मिलाउनुपर्छ भन्ने मान्यता बोक्ने हो भने संघीय शासन पनि एकात्मक राज्य प्रणालीको अर्को रूप मात्र हुनेछ । संवैधानिक व्यवस्थाको परिचयलाई यसरी अनेकार्थी बनाउने अभ्यास दलहरूले नगरून्, नगराऊन् । 

सम्पादकलाई चिठी

एसईईको नतिजा सन्तोषजनक भएन

झन्डै पाँच लाख विद्यार्थी सहभागी एसईईको नतिजा बिहीबार सार्वजनिक भएको छ । सरकारले कक्षा ८ सम्मलाई आधारभूत शिक्षा र कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानेको भए तापनि कक्षा १० मा हुने एसईई परीक्षा हरेक वर्ष चर्चामा आउने गरेको छ । पहिले यो परीक्षालाई उच्च शिक्षाका लागि फलामे ढोका मानिन्थ्यो । ‘जग बलियो भए मात्र घर बलियो हुन्छ’ भनेझैं विद्यालय शिक्षाको जग बलियो भए मात्र उच्च शिक्षाको नतिजा पनि उत्कृष्ट आउने हुँदा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुको विकल्प छैन । यो परीक्षालाई प्रदेशगत रूपमा संघीयताको मर्मबमोजिम सञ्चालन गर्नुपर्ने आवाज उठिरहेको भए तापनि सरकारले यसबारे पुनर्विचार नगरी राष्ट्रियस्तरमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्दै आएको पाइन्छ । विगतमा एसईई परीक्षाको परीक्षाफलमा प्रतिशतमा आउने प्राप्तांकको आधारमा फेल हुने बालबालिकाहरूले आत्महत्याजस्ता अप्रिय निर्णय गरेर ज्यान जाने गरेको तीतो यथार्थलाई अहिलेको लेटर ग्रेडिङ प्रणालीले केही सुधार गरेको छ । यद्यपि सामाजिक सञ्जालहरूमा बढी जीपीए ल्याउने विद्यार्थीहरूको अलिक धेरै प्रशंसा र कम जीपीए ल्याउने विद्यार्थीहरूलाई निराश बनाउने खालका पोस्टहरू हुने गरेको पाइन्छ । अभिभावक र साथीभाइ कसैले पनि कम जीपीए ल्याउने विद्यार्थीहरूलाई नकारात्मक रूपमा हेर्ने र कमजोर सम्झिने गर्नु भएन । किनकि नतिजामा कम जीपीए ल्याए पनि उनीहरूको अन्य क्षेत्रमा हुने रुचि र अब्बलता पहिचान गरेर उनीहरूको इच्छा अनुसार क्षमता वृद्धि गराउन राज्यले ठोस पहलकदमी गर्नैपर्ने देखिन्छ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं एसईई परीक्षा दिएका यो उमेर समूहका बालबालिका भनेको देशका लागि भविष्यका कर्णधार र भावी नेतृत्वकर्ता युवा पुस्ता हुन् । यी बालबालिकाहरूलाई नै विद्यालय शिक्षामा तेजिला बनाउन सके उच्च शिक्षा प्राप्तिपछि दक्ष जनशक्ति बनाएर देश निर्माणमा लगाउन सकिन्छ । त्यसैले सरकारले विद्यालय शिक्षामा राज्यको लगानी बढाउनुपर्ने देखिन्छ ।
यस वर्ष चार लाख ८४ हजार ९ सय ३९ विद्यार्थीहरूमध्ये ४.६३ प्रतिशतले मात्र माथिल्लो स्तरको अंक अर्थात् ३.६ जीपीएभन्दा माथि ल्याएको पाइएको छ । गत वर्षको १.९६ प्रतिशतभन्दा सुधार देखिए पनि राज्यको लगानी र विद्यार्थी उत्पादनको प्रतिफल तुलना गर्दा सन्तोषजनक मान्न सकिन्न । यस्तै ३.२ जीपीए देखि ३.६ जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या गत वर्ष ८.४ प्रतिशत रहेकामा यो वर्ष केही वृद्धि भई ११.३६ प्रतिशत देखिएको छ । तर सबैभन्दा धेरै विद्यार्थी संख्या २.० देखि २.४ जीपीए ल्याउने सूचीमा रहेका छन् । के यसलाई लगानी अनुसारको प्रतिफल प्राप्त भएको मान्न सकिएला र ? यो नतिजा भनेको विद्यालय शिक्षाको गुणस्तर, अध्यापनमा संलग्न शिक्षकहरूको दक्षताको मूल्यांकनको आधार होइन र ? अनि कसरी यो नतिजालाई सन्तोषजनक मान्न सकिन्छ ?
सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरू आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउने र निजी स्कुलमा लगानी गरेर सरकारी विद्यालयको गुणस्तरमा ध्यान दिनुको सट्टा निजी स्कुलको पृष्ठपोषणमा लाग्ने संस्कृति विद्यमान छँदैछ जुन विद्यालय शिक्षाको गुणस्तर उकास्न नसक्नुको जरो कारण हुन सक्छ । अन्य थुप्रै समस्याका बावजुद संघीयतापछि स्थानीय सरकारमातहतमा पुगेको विद्यालय शिक्षामा अझै धेरै गुणस्तर र उत्कृष्ट नतिजाको अपेक्षा जनताले गरेका छन् । काठमाडौं महानगरपालिकाले हालै सामुदायिक विद्यालयको छात्रवृत्ति पाउने विद्यार्थी चयन पालिकाले आफैं गर्ने, निजी स्कुलहरूले पनि अनिवार्य छात्रवृत्ति प्रदान गर्नुपर्ने र सोको विवरण महानगरमा बुझाउनुपर्ने व्यवस्था गरी विद्यालय शिक्षाको गुणस्तरका लागि प्रभावकारी अनुगमन गर्ने प्रयत्न गरेको छ जुन सकारात्मक र अरूले पनि अनुकरण गर्नयोग्य देखिन्छ ।
यस्तै धनगढी महानगरपालिकाले विद्यालय शिक्षामा दिल्ली मोडल लागू गर्न त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले सुरुआत गरेको सुधारको पक्षलाई विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकहरूलाई स्थलगत भ्रमण गराई सरकारी शिक्षा सुधारको कार्ययोजना बनाएको कार्य पनि सबैको लागि उदाहरणीय बन्न सक्छ । यस्तो अवस्थामा एसईईको यो वर्षको नतिजालाई मात्र सन्तोषजनक मान्न सकिएन । आगामी दिनमा यस्तो परीक्षाफललाई अझै वृद्धि गर्न अहिलेदेखि नै सबै पक्षले सक्रियतापूर्वक सुधारको कार्ययोजनासहित अगाडि बढ्नुको विकल्प छैन । विद्यालय शिक्षाको गुणस्तर सुधानुपर्ने दायित्वबाट राज्य पक्ष कुनै पनि बहानामा भाग्न मिल्दैन ।

नोदनाथ त्रितालकुवेर राई, काठमाडौं

सम्पादकलाई चिठी

'ललिता निवास प्रकरण पाँच पूर्वसविचविरुद्ध पक्राउ पुर्जी’ समाचारमा facebook.com/ eKantipur.com बाट लिइएका टिप्पणी :


प्रचण्डले सरकार छोड्नु हुन्न । यसै गरी अगाडि बढ्नुस्, जनता तपाईंको साथमा छ ।
– कृष्णकुमार घर्ती मगर

नेपालमा कर्मचारीतन्त्रभित्र यति भ्रष्टाचार मौलाएको छ कि भनी साध्य छैन । सबै कर्मचारीको सम्पत्ति छानबिन गर्नु आवश्यक छ । जताततै कागज मिलाउने, सेटिङ मिलाउने कर्मचारी नै हुन् । अरूलाई के थाहा, कहाँ के छ भनेर ? नेपालको कर्मचारी र नेताहरूलाई देख्यो कि नकारात्मक धारणा जाग्न थाल्यो ।
– सोनु गुरुङ

अब त प्रहरी चौकी पनि भरियो होला ? कति जारी गर्‍या हो यो पक्राउ पुर्जी पनि !
– अञ्जली पराजुली ढकाल

निजामतीको नाममा देश लुट्नेलाई आजीवन कारावासको व्यवस्था गर सरकार ।
– विष्णुलाल जैसी

सबै भ्रष्टाचारीलाई यसै गरी जेल कोच है सरकार, बधाई छ ।
– महेन्द्र थापा

कर्मचारीतन्त्रको ब्रह्मलुट । नेपाल अविकसित भएको कर्मचारीतन्त्रको गिद्धेनजर र लुटतन्त्रको सेटिङले हो । भ्रष्टाचारीलाई फाँसीको सजाय नभएसम्म देश कहिले बन्दैन ।
– लोकेन्द्र राना

अधिकांश उच्चपदस्थ कुलांगारहरू अन्ततः आफू पनि सकिन्छन्, देशलाई डुबाएर । अब नयाँ (फ्रेस) व्यक्तिहरू अगाडि आउनुको विकल्प रहेन ।
– नन्दप्रसाद काप्री

ठूला माछाको समय आएछ । अझै ठूलासम्म पुग्न कति समय लाग्ने हो ? शुद्ध कोही पनि छैनन् यो देशमा ।
– टेकबहादुर खड्का

सरकारमा बसेर नीतिगत निर्णय गर्ने र कर्मचारीलाई कार्यान्वयन गर्न लगाउने अनि त्यस्तो निर्णय गर्नेहरूलाई चोखो देख्ने, तिनलाई नसमाएर कर्मचारी डाम्ने स्टन्टबाजी गर्ने ?
– वशिष्ठऋषि उपाध्याय

तत्कालीन प्रधानमन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीश, विभागीय मन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन । तत्काल पक्राउ गर ।
– भुवन केसी

राम्रो कामको तारिफ गर्छु । भ्रष्टाचार गर्ने कर्मचारीले बिगारे देश । नेताले भ्रष्टाचार गरेको सबै बाहिर आओस् । यसो भएमा देश ठाउँमा आउँछ ।
– अर्जुनप्रसाद चम्लागाई

Page 7
अन्तर्वार्ता

'संवैधानिक र न्यायपरिषद्को संरचनामा पुनर्विचार आवश्यक छ'

दीपक केसी/कान्तिपुर

करिब १६ महिना कायममुकायम नेतृत्वमा चलेको सर्वोच्च न्यायालयले भर्खरै मात्र प्रधानन्यायाधीश पाएको छ । नयाँ प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल ५० दिन मात्र छ, एक महिनाअघि इजलासमा नबस्ने परम्पराअनुसार कार्कीले अब प्रशासनिक जिम्मेवारी मात्र पूरा गर्दै छन् । तर उनको यो संक्रमणकाल नै प्रशासनिक रूपले निर्णायक समय हुनेछ किनकि देशभर विभिन्न तहका अदालतमा २६० न्यायाधीशको दरबन्दी रहेकामा रिक्त पदको संख्या ८९ पुग्दै छ । यसरी एकतिहाइ न्यायाधीश नियुक्तिको काम यही छोटो समयमा पूरा गर्ने ध्याउन्नमा उनी छन्, तर यसका लागि वातावरण सहज बनेको छैन । खासगरी न्यायपरिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश कार्की र सदस्य रहेका कानुनमन्त्री धनराज गुरुङबीच समझदारी बन्न सकेको छैन, कतिसम्म भने न्यायपरिषद्को बैठकसमेत अनिश्चित छ । न्यायाधीश नियुक्तिको प्रसंग, न्यायपरिषद् र संवैधानिक परिषद्को भूमिकामाथि उठेका प्रश्नलाई सम्बोधन गर्ने उद्देश्यले कान्तिपुरका उमेश चौहान र घनश्याम खड्काले कार्कीसाग गरेको संवाद:

न्यायालयको संरचनामाथि, न्याय प्रशासनमाथि र न्यायाधीशहरूको व्यक्तित्वमाथि प्रश्न बढ्दै गएका छन् । मान्छेहरूलाई के अपेक्षा थियो भने हरिकृष्ण कार्की प्रधानन्यायाधीश भएपछि त्यसमा सार्थक हस्तक्षेप हुनेछ । किनभने यहाँले न्यायालय सुधारका लागि अध्ययन गरेर सुझावसहित प्रतिवेदन पनि पेस गर्नुभएको थियो । तर पनि यहाँ कामु भएर न्यायपालिका चलाउँदा होस् वा प्रधानन्यायाधीशका रूपमा नियुक्त भएपछि होस्, न्यायालयमा गुणात्मक सुधार आएन । आफैं नेतृत्वमा रहँदा सीमाहरू बढ्ने रहेछन् ? स्वमूल्यांकन के छ ?
न्यायालयमाथि जेजति प्रश्न उठेका छन्, त्यसको जड न्यायाधीश नियुक्तिमै छ  । संविधानले परिकल्पना गरेजस्तो योग्य न्यायाधीश हामीले नियुक्त गर्न सकेनौं । त्यसको सुरुवात न्यायपरिषद्को संरचनाबाटै हो कि भन्ने पनि छ । २०४७ सालको संविधानले न्यायपरिषद्को व्यवस्था गरेको हो, त्यो बेलादेखि न्यायाधीश नियुक्तिको समस्या सुरु भएको हो । परिषद् गठन भएपछि अपवादमा बाहेक न्यायाधीशको नियुक्ति कहिल्यै विवादमुक्त हुन सकेन । अब यस्तो नहोस् भन्नका लागि न्यायाधीश नियुक्तिमै केही न केही सुधार ल्याउनैपर्छ भन्ने हाम्रो प्रतिवेदनको ठम्याइ थियो । नियुक्तिलाई वस्तुनिष्ठ र जिम्मेवार बनाउनुपर्छ भन्ने प्रतिवेदनको ठम्याइ थियो । म जब परिषद्को सदस्य भएँ, हामीले एउटा निर्देशिका बनायौं । साबिक ऐनमा यस्तो निर्देशिका बनाउने भन्ने थिएन, अहिलेचाहिँ परिषद्ले आफ्नो आवश्यकताअनुसार बनाउन सक्छ भन्ने छ । त्यसैलाई आधार बनाएर नियुक्तिको निर्देशिका बनेको हो । वकालतको लाइसेन्स लिएका तर कानुन व्यवसाय नै नगरेका मानिस न्यायाधीश बनाइए भन्ने गुनासाहरू धेरै आए । कोही न्यायपरिषद्का सदस्यका नातेदार भएकाले न्यायाधीश भए होलान्, कोही राजनीतिक संरक्षणका कारणबाट भए होलान् । यसले गर्दा राम्रोसँग वकालत गरेर आएका मानिस पनि प्रश्नको घेरामा पर्न थाले । त्यसो हुनाले अब उच्च अदालतमा कानुन व्यवसायीलाई नियुक्त गर्दा कम्तीमा सयवटा फैसलामा आफ्नो नाम भएको प्रमाण पेस गर्नुपर्ने भन्ने प्रावधान निर्देशिकामा राखेका छौं ।
सयवटा फैसला भनेको १० वर्षको अवधिमा हिसाब गर्दा वर्षको १० वटा मुद्दा हो । वर्षको दसवटा पनि मुद्दा नभएको अधिवक्तालाई व्यावसायिक कसरी भन्ने ? तर हामीले नयाँ निर्देशिकाअनुसार प्रक्रिया सुरु गर्दार् वरिष्ठ दाबेदारका आवेदन दिन आए । संविधान र न्यायपरिषद् ऐन दुवैले नियुक्ति समावेशी हुनुपर्ने भनेका छन् । त्यसलाई मध्यनजर गर्दै हामीले सकेसम्म लैंगिक र भौगोलिक तथा दलित वर्गलाई समेट्ने आधार बनाएका छौं । सकेसम्म सातै प्रदेशबाट र दुर्गमका कानुन व्यवसायीलाई पनि समावेश गराउन खोजेका छौं । किनभने, दुर्गममा बसेर अभ्यास गरेकालाई मौका दिनुपर्छ भन्ने परिषद्को मान्यता छ । हामीले आवेदनहरूलाई अन्तिम रूपमा सूचीकृत गर्दा करको दायरामा भएको प्रमाणलाई पनि आधार बनाएका छौं । यसले पनि व्यावसायिक रूपमा वकालत गरेका अधिवक्ताबाहेक अन्यका लागि न्यायालयको कुर्सीसम्म पुग्ने ढोका बन्द गरिदिन्छ । यसरी हामीले न्यायाधीशको नियुक्तिमा उठेका यावत् प्रश्नहरूलाई हल गर्नका लागि नियुक्तिका आधारहरू बनायौं । पहिलो सुधारको प्रयास यहींबाट हुनुपर्छ भन्ने प्रतिवेदनको ठम्याइका आधारमा भएको काम हो यो ।

तर, अहिले सर्वोच्चमा ६, उच्च अदालतमा ४५ र जिल्लामा ३८ गरी ८९ न्यायाधीश पद रिक्त हुँदै छन् । विगत नौ महिनादेखि तपार्इं नै न्यायपरिषद्मा हुनुहुन्छ तर देशमा एकतिहाइ न्यायाधीशको पद खाली छन्, अब यो रिक्तताको जिम्मा कसले लिने ?
भनिहालें नि, गर्न नसकिने विभिन्न परिस्थिति निर्माण भए । हामीले न्यायाधीशको सूची बनाइसकेपछि नियुक्ति गर्ने बेलामा तत्कालीन कानुनमन्त्री (गोविन्द शर्मा) को ६ महिने पदावधि सकियो । त्यसपछि महान्यायाधिवक्तामार्फत हामीले प्रधानमन्त्रीलाई के सन्देश दियौं भने कानुन मन्त्रालय उहाँ आफैंले राख्नुभयो भने न्यायपरिषद्मा प्रतिनिधित्व गर्न गाह्रो हुन्छ, यो अरू कसैलाई दिनुहोस् भन्न लगायौं । उहाँले कानुन मन्त्रालय दिन त दिनुभयो, तर उहाँ चुनावमा उम्मेदवार बन्नुभयो । उहाँ मन्त्री भएको भोलिपल्टै आफ्नो उम्मेदवारीको प्रचारमा खट्न निर्वाचन क्षेत्रमा गएर बसिदिनुभयो । निर्वाचन नसकिउञ्जेल उहाँ आउनुभएन । हामी बैठकै बस्न सकेनौं । निर्वाचनपछि सरकार बन्यो, तर कानुन मन्त्रालयले मन्त्री नै पाएन । प्रधानमन्त्री आफैंले यो मन्त्रालय राख्नुभयो, निकै समयसम्म । फेरि, महान्यायाधिवक्तामार्फत उहाँलाई परिषद्को अप्ठेरो अवगत गरायौं । यसमा परिषद्कै सचिवलाई पनि खटायौं । त्यही बीचमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने भयो र आचारसंहिता लागू भयो । आचारसंहिता लागू भएको समयमा प्रधानमन्त्रीलाई पनि समावेश गरेर नियुक्ति गर्ने कि नगर्ने भन्ने प्रश्न आयो ।
दस–पन्ध्रै दिनको कुरा हो, आचारसंहिता लागू भएका बेलामा नियुक्ति नगरौं भन्ने राय आयो । अनि परिषद् चुप नै बस्यो । मन्त्रिपरिषद् गठन भएको झन्डै दुई महिनाजति कानुनमन्त्री नियुक्त हुनुभएन । त्यसपछि मन्त्री नियुक्त हुनुभयो । केही बैठक पनि भए । नियुक्तिका लागि अन्तिम तयारी पनि पुग्यो । र, भोलि नियुक्त गर्ने है भनेर बैठक डाकेको अघिल्लो दिन मन्त्रीको दलले सरकार छोड्यो । त्यसपछि सरकारले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आयो । त्यसले गर्दा परिषद्को बैठक झनै बस्न सकेन । यसरी हाम्रो राजनीतिक प्रक्रियाले धेरै अलमल पर्‍यो ।

अहिले त मन्त्री हुनुहुन्छ नि, किन भइराखेको छैन नियुक्ति ?
हुन त हुनुहुन्छ, डेढ/दुई महिना भयो उहाँले सम्हालेको, बुझ्ने प्रक्रियामै हुनुहुन्छ । कानुनमन्त्री भएपछि उहाँले मलाई केही समय बुझ्नलाई चाहियो भन्नुभएको थियो । हो पनि, उहाँले मन्त्रालयमा बुझ्नुपर्‍यो, मन्त्रालयबाहिर बुझ्नुपर्‍यो, कानुन व्यवसायीका बारेमा पनि बुझ्नुपर्‍यो । हुन त हामीले ब्रिफिङ गरेकै थियौं तैपनि आफ्नो हिसाबले बुझ्ने पनि त हुन्छ । त्यसका लागि उहाँले समय लिएर के कस्ता नामहरू आएका छन्, भेरिफाई गरौं र बुझौं भन्नु अस्वाभाविक होइन । त्यसैले गर्दा केही लम्बिन गएको थियो । त्यसैले जेठ २१ को बैठकमा नियुक्ति हुन सकेन । त्यसपछिको बैठक मन्त्रीजीको व्यस्तताले बस्न सकिरहेको छैन ।

तर, सैद्धान्तिक रूपमा पनि कानुनमन्त्री करिअर जजलाई मात्रै सर्वोच्चमा न्यायाधीश बनाउने भन्ने र प्रधानन्यायाधीश कानुन व्यवसायीलाई पनि बनाउने भन्नेमा हुनुहुन्छ, सैद्धान्तिक रूपमै मतभेद छ भन्ने सुनिन्छ । के भन्नुहुन्छ ?
मतभेदभन्दा पनि हाम्राबीच छलफल चलेको हो । कानुन व्यवसायीलाई कसरी प्रतिनिधित्व गराउने, न्यायाधीशहरूलाई कसरी अगाडि बढाउने भन्ने भयो । कानुन व्यवसायीलाई (सर्वोच्चमा) लाँदै नलाने भन्ने त होइन तर संख्या अलिक कम गर्नुपर्‍यो भन्ने छ, त्यो अन्यथा होइन । किनभने, लामो समयदेखि जिल्लामै बसेर काम गर्नुभएका धेरै न्यायाधीशहरू हुनुहुन्छ । उहाँहरूले आफूलाई अन्याय महसुस गरिराख्नुभएको छ भन्नेबारे छलफल भएको हो । तर त्यो छलफल टुंगिन पाएन ।

'करिअर जज' हरूलाई मात्रै लैजाने कि कानुन व्यवसायीलाई पनि समावेश गर्ने भन्ने विषय प्रधानन्यायाधीश र कानुनमन्त्रीको विश्वासको मात्र नभएर सार्वजनिक सरोकारको पनि प्रश्न हो । यसबारे तपार्इंहरूले के गर्नुहुन्छ भन्ने प्रश्नले भोलिको न्यायालयमा कस्तो हुन्छ भन्ने तय गर्छ । त्यसैले, यसबारे यहाँको धारणा के हो ?
न्यायाधीश नियुक्तिका लागि कानुन व्यवसायीबाट मात्रै नभएर अन्यत्रबाट पनि चासो छ । महान्यायाधिवक्ता कार्यालयका मानिस छन्, सर्वोच्चका कर्मचारी छन्, कानुन मन्त्रालयका कर्मचारी छन्, न्यायाधीशहरू त हुने नै भइहाले । त्यसकारण सबै क्षेत्रलाई प्रतिनिधित्व हुने गरी कसरी जाने भन्ने प्रश्न हो । म त धेरै पहिलेदेखि के भन्दै आएको छु भने न्यायाधीश नियुक्तिमा करिअर जज र कानुन व्यवसायी भनेर कोटा सिस्टम लागू गर्नु हुँदैन । बरु सबैतर्फबाट आएका नामलाई एउटै डालोमा हालेर तीमध्ये योग्यतमलाई छान्नुपर्छ भन्ने प्रस्ताव हो । तर, कोटा तोक्दा को राम्रो, को नराम्रो भन्नेमा बिचारै गर्न पाइन्न । तर, सबै क्षेत्रका योग्यलाई एउटै डालोमा हालेर तीमध्ये योग्यतमलाई नियुक्त गर्दा कहिले कानुन व्यवसायीबाटै मात्रै पनि पर्लान्, कहिले न्यायाधीशबाटै मात्र पनि पर्लान् । कहिले कर्मचारीबाट पर्लान् । त्यसका लागि एउटा प्रणाली नै बनाउनुपर्छ भन्ने मलाई लाग्छ । भावी नेतृत्व तयार पार्न न्यायाधीशहरूको पाठ्यक्रम र तालिमको अनिवार्य व्यवस्था गर्ने र यसमा सहभागी भएकाहरूको मात्रै नियुक्तिका लागि योग्यता पुग्ने प्रणालीको विकास गर्नुपर्छ भन्ने मलाई लाग्छ । यसो गरियो भने न्यायाधीश हुनका लागि चाहिने निष्ठा, निष्पक्षता, आचरण, इमान र चरित्र परीक्षण वा विकास यसै तालिमले गर्छ । यसो गर्न सके अहिलेका धेरै समस्या समाधान हुनेछन् । म यो होस् भन्ने प्रयासमा छु । कम्तीमा मेरो पालामा यसको कोर्स अफ स्टडीसम्म पास गरेर जान पाए हुन्थ्यो भन्ने लागेको छ । र त्यसअनुसार काम पनि हुँदै छ ।
 
कानुन व्यवसायी न्यायाधीश हुने प्रचलन अन्तर्राष्ट्रिय रूपमै छ । तर, नेपालको सन्दर्भमा दलीय भागबन्डा भएका उदाहरणले समाज बढी सतर्क छ । वकालत गर्ने हुनाले स्वभावैले अधिवक्ताहरू मुखर हुन्छन् । त्यसैले राजनीतिक–सामाजिक मुद्दामा उनीहरूका पक्षधरताहरू प्रकट भइसकेका हुन्छन् । त्यो भारीसहित न्यायालयमा जाँदा निष्पक्ष फैसला नहुने वा भएपछि समाजले त्यसरी ग्रहण नगर्ने हुनाले न्यायालयमाथिको विश्वास कम हुने अवस्था छ । यसमा यहाँको के टिप्पणी छ ?
मलाई के लाग्छ भने, कुनै मानिस न्यायाधीश भइसकेपछि विगत बिर्सेर बस्नुपर्छ । विगत उसको इतिहास मात्रै हो । त्यो इतिहासमै रहनुपर्छ । वर्तमान र भविष्यलाई त्यसले निर्देशित गर्न हुँदैन । यो ढंगको मानिस न्यायालयमा गएका पनि छन् र इतिहास बिर्सेर काम गरेका पनि छन् । यता, हाम्रो समाजले देखाउने स्वीकार्यताको तह पनि साँघुरो छ । त्यसैले पनि समस्या भएको हो । नत्र त विगत बिर्सेर काम गर्ने न्यायाधीशहरू छन् नि ! उसकोमा गयो भने न्याय पाइन्छ है भन्ने छवि बनाएर बसेका न्यायाधीश नभएका त होइनन् नि ! ऊ बदलिसकेपछि अरूले पनि त धारणा परिवर्तन गर्नुपर्छ नि ! संसदीय सुनुवाइमा मलाई सोधिएको थियो यो प्रश्न । एउटा दलको प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा महान्यायाधिवक्ता भएको मानिस उतैप्रति लोयल भइहाल्छ नि भन्ने ढंगका प्रश्न थिए ती । म त महान्यायाधिवक्ता मात्रै होइन, बारको अध्यक्ष पनि भएको मानिस हुँ । हामीकहाँ कुनै दलको समर्थन नभई बारको अध्यक्ष हुन सकिने अवस्थै छैन । तर, मैले त्यो बेला पनि उदाहरण दिएको थिएँ, भारतमा कानुनमन्त्री भइसकेका कृष्ण अय्यर पछि सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भए । उनको नियुक्तिको सुरुमा विरोध भयो । तर जब अय्यरले निष्ठाका साथ न्यायिक आचरण देखाए, पहिलेका विरोधीहरूले पश्चाताप गरे । यस्तो अद्भुत मानिसलाई हामीले झन्डै गुमाएका पो रहेछौं भनेर लेख नै लेखिएका उदाहरण पनि छन् । उनी अवकाश हुने बेलामा सबका आँखामा आँसु टलपलाएको थियो रे ! यसबाटै स्पष्ट हुन्छ, मान्छे हिजो जे थियो, आज पनि उही रहन्छ भन्ने हुँदैन । भूमिका परिवर्तन हुँदा उसले आफूलाई पनि परिवर्तन गर्छ । यो हामीले बुझ्नुपर्छ । हिजो कानुन व्यवसाय गर्दा वा कुनै पेसागत संगठनमा रहँदा कस्तो भूमिका निर्वाह गरेको थियो भनेर हेर्‍यो भने पनि मान्छे कस्तो हो भन्ने आकलन गर्न सकिहालिन्छ नि ! त्यो मूल्याङ्कन गरेर मात्रै नियुक्ति प्रक्रिया अघि बढाउनुपर्छ ।
 
कानुनमन्त्रीसहित जेठ २१ मा बसेको न्यायपरिषद्को बैठकमा प्रधानन्यायाधीशले सर्वसम्मत निर्णय हुन सक्दैन भने बहुमत–अल्पमतबाट भए पनि निर्णय गरेर आजै टुंग्याऔं भन्ने अचानकको प्रस्ताव राख्नुभयो । त्यसबाट कानुनमन्त्री अलिक हच्किनुभयो भन्ने सूचना छ । बहुमत–अल्पमतबाट पनि नियुक्त गर्ने पहलकदमी लिनुभएको हो ?
मैले अनिर्णयको बन्दी नबनौं भनेको हुँ, निर्णय गरेर अघि बढौं भन्ने मेरो भनाइ हो । कतिपय अदालत खाली हुने अवस्थामा पुगिसकेका छन् । जस्तो, उच्च अदालतमा संयुक्त इजलास बस्न दुई जना न्यायाधीश चाहिन्छ । कतिपय उच्च अदालतमा यति संख्यामा पनि न्यायाधीश नभएकाले नजिकको अर्को अदालतबाट लगेर व्यवस्थापन गर्नु परिरहेको छ । यस्तो अवस्थामा कति दिन न्यायालय चलाउने ? हामी कतिसम्म अनिर्णयको बन्दी भएर बस्ने ? त्यसै हुनाले मैले जे भए पनि निर्णय गरौं भनेको हुँ ।
 
कानुनमन्त्री पदेन सदस्य हुने, बारले पठाएको एक जना र प्रधानमन्त्रीले तोकेको अर्को एक अधिवक्ता पनि रहने न्यायपरिषद्को मौजुदा संरचनामा राजनीतिक प्रतिनिधित्व मात्र होइन, प्रभुत्व पनि हुन्छ । यस्तोमा अवस्थामा राजनीतिक प्रभावबाट अलग नियुक्ति हुन कति सम्भव होला ?
न्यायपरिषद्को संरचनामा समस्या छ भन्ने हाम्रो अध्ययनले देखाएको छ । त्यसैले यो संरचनामा परिवर्तन जरुरी छ । यो कुरा प्रतिवेदनमा उल्लेख पनि गरेका छौं । कस्तो संरचनामा जाने भन्ने सिफारिस गर्नका लागि अध्ययनको समय पुगेन । तर, जस्तो संरचनामा गए पनि यो संरचनाले काम गर्दैन भन्ने प्रतिवेदनले औंल्याएको छ । परिषद्का विभिन्न मोडालिटी छन्, तीमध्ये एउटामा जान सकिन्छ । उदाहरणका लागि, कतिपय मुलुकमा बहालवाला प्रधानन्यायाधीश र न्यायाधीश नभएको र कुनै राजनीतिक प्रतिनिधित्व पनि नभएको एक स्वतन्त्र न्यायिक सेवा आयोग हुन्छ जसले न्यायाधीशको नियुक्ति र कारबाहीसम्बन्धी काम गर्छ । यसमा कानुन व्यवसायी रहन्छन् जसमा पूर्वन्यायाधीश पनि हुन सक्छन्, कानुन व्यवसायी पनि हुन सक्छन् । त्यस्तै, कतिपय देशमा पूर्वन्यायाधीशहरूको आयोग छ जसले यो काम सम्हाल्छ । छिमेकी भारतमा कलेजियमको विकास भएको छ, जहाँ सर्वोच्चका न्यायाधीश हुन्छन् । तर प्रधानमन्त्रीले हुन्छ भनेपछि मात्र त्यहाँ नियुक्ति हुन्छ । त्यहाँ पनि समयमै नियुक्ति नगरिएकाले अदालतै खाली हुने अवस्था आयो । सार्वजनिक कार्यक्रममा एक जना प्रधानन्यायाधीश (टीएस ठाकुर) ले रुँदै भन्नुपरेको थियो, ‘सरकारले नियुक्त नगर्नाले ४ सय न्यायाधीश अपुग छन्, म कसरी चलाऊँ ?’ समस्या त त्यहाँ पनि देखियो । सायद यो अल्पविकसित देशको चरित्र नै हो । हाम्रो संविधानमा रिक्त हुनु एक महिनाअगाडि नै प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस संवैधानिक परिषद्ले गर्ने र न्यायाधीशको नियुक्तिको सिफारिस न्यायपरिषद्ले गर्नुपर्छ भन्ने छ । उच्च अदालतको हकमा खाली भएको ३ महिनाभित्र गर्नुपर्छ भन्ने छ । तर, संविधान जारी भएको यतिका वर्ष भइसक्यो, अझै पनि गर्न सकिएको छैन । त्यसैले, मौजुदा परिषद्को संरचनाले काम गर्न सक्दैन । संविधान संशोधनै गरेर हामीलाई सुहाउँदो कुनै एक विकल्पमा हामी जानुपर्छ ।



तर न्यायपरिषद्मा मात्र होइन, संवैधानिक परिषद्मा राजनीतिक प्रभुत्व कस्तो छ भने यसले प्रधानन्यायाधीशका हातखुट्टा बाँध्छ । जस्तो कि, संवैधानिक परिषद्ले गरेका ५२ नियुक्तिका बारेमा अहिले सर्वोच्चमा मुद्दा विचाराधीन छ । यो मुद्दा छिन्न खोजे संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश हुने बाटोमा राजनीतिक अवरोध हुने अवस्था छ । यो परिबन्दमा अघिल्ला प्रधानन्यायाधीशझैं यहाँ पनि पर्नुभयो, होइन ?
म धेरै कुरा भन्न सक्दिनँ अहिले । यति मात्रै भन्न सक्छु कि, संवैधानिक परिषद्को विषयमा पनि पुनर्विचार गर्नुपर्ने अवस्था छ । हामीले बनाएको प्रतिवेदनमा यो पनि उल्लिखित छ । थप विश्लेषण गर्दा संवैधानिक परिषद् नै पनि नचाहिन सक्छ । अथवा, त्यहाँ प्रधानन्यायाधीशको प्रतिनिधित्व नै आवश्यक नहुन सक्छ । तर, संविधान संशोधन गर्दा संवैधानिक परिषद्को संरचनामा पनि पुनर्विचार हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।

अघि तपाईंले न्यायपरिषद्को प्रसंग त व्याख्या गर्नुभयो, संवैधानिक परिषद्लाई पुनःसंरचना गर्ने हो भने कस्तो विकल्पमा जान सकिएला ?
हामीकहाँ यो प्रधानन्यायाधीश र संवैधानिक अंगका पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्नका लागि बनाइएको हो । यसको काम नै यति मात्रै हो । यतिका लागि यो संरचना जरुरी पर्ने–नपर्नेमा प्रश्न गर्न सकिन्छ । कतिपय देशमा नियुक्ति राष्ट्रपतिबाटै हुने गर्छ । अनि त्यसमाथि संसदीय सुनुवाइ हुन्छ । जस्तो, अमेरिकामा प्रधानन्यायाधीश नियुक्त गर्दा यसै गरिन्छ । हामीकहाँ राष्ट्रपति सेरेमोनियल भएकाले यो उपयुक्त नहुन सक्ला तर पुनःसंरचना भएपछि न्यायपरिषद्जस्तो संरचनाले नै नियुक्तिको सिफारिस गर्न पनि सक्छ । कतिपय देशमा वरिष्ठताका आधारमा स्वतः प्रधानन्यायाधीश नियुक्त हुन्छन् । जस्तो कि, भारतमा सन् १९८४ देखि अहिलेसम्म वरिष्ठता मिचिएको छैन । त्यसैले, त्यहाँ १५ दिन पनि प्रधानन्यायाधीश भएका छन् । वरिष्ठताका आधारमा प्रधानन्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशको रोलक्रममा भएकालाई क्रस गर्न हुन्न भन्ने त्यहाँको ल कमिसनको सिफारिस छ । किनभने, त्यहाँ पुगिसकेपछि प्रधानन्यायाधीश हुन्छु भन्ने वैध अपेक्षालाई मार्न हुँदैन । प्रधानन्यायाधीश हुनलायक छैन भने त उसलाई न्यायाधीश हुँदै कारबाही गर्दा भयो नि ! नत्र स्वाभाविक नेतृत्वको सुनिश्चिततालाई तोड्नु हुँदैन ।
 
तर जिल्लादेखि सर्वोच्चसम्मको न्याय यतिखेर गोलाप्रथामा छानिने इजलासका आधारमा चलिरहेको छ । प्रधानन्यायाधीश वा मुख्य न्यायाधीशलाई पेसी तोक्ने काममा पनि विश्वासै गर्न नसक्ने अवस्था आएपछि गोलाप्रथामा जानुपर्‍यो । बेन्च सपिङको समस्यालाई केही हदसम्म सम्बोधन गरे पनि मुद्दाको विधा बुझ्ने न्यायाधीशलाई सम्बन्धित मुद्दा नपर्ने समस्या यसमा छ भन्ने गरिन्छ । के प्रधानन्यायाधीशले पेसी तोक्दा उपयुक्त नहुने हो ?
म गोलाप्रथाको अध्ययन गर्न सुझाउँछु । यसअघि प्रधानन्यायाधीशले तोकेका इजलासहरू विशेषज्ञताका आधारमा कति तोकिए ? त्यति बेला, अपवादमा विशेषज्ञताका आधारमा इजलासहरू गठन भएका होलान् । पहिलो प्रश्न यो हो । गोलाको समस्यै छैन यहाँ । किनभने, सर्वोच्च अदालतमा पुगेको व्यक्तिले सबै मुद्दा छिन्ने ल्याकत राख्नुपर्छ, राख्छ पनि । मुद्दा छिन्ने भनेको त एउटा सिद्धान्त र आधार हुन्छ कानुनमा । त्यही जान्ने त हो । सर्वोच्चमा पुगेको न्यायाधीशले यो जानेकै हुन्छ । त्यसैले, सबै न्यायाधीशहरू योग्य छन् र सबै विशेषज्ञ नै हुन् भन्ने गरिन्छ ।
 
गोलाप्रथामा हेर्न नमिल्ने इजलासमा मुद्दा पर्ने सम्भावना रहन्छ । अटोमेसनमा पेसी जान सके त्यो समस्या रहन्न भन्ने छ । संसद्को पनि यही चासो थियो । कहिले जान्छ न्यायालय अटोमेसनमा ?
अटोमेसनको सुरुआत बिन्दु हो गोलाप्रथा । गोलाप्रथा र अटोमेसन प्रणालीबीचको अन्तर थोरै मात्रै छ । गोलाप्रथाले गर्दा हेर्न नमिल्ने मुद्दा धेरै पर्‍यो भन्ने गुनासो आएपछि त्यसलाई सम्बोधन गर्ने काम हामीले गरेका छौं । अहिले त्यसमा धेरै सुधार भइसकेको छ । तर पनि अटोमेसनमा हामी गयौं भने झन् कम त्रुटि हुनेछ । त्यो पक्का हो । अटोमेसनमा जानका लागि केही पूर्वाधारहरू चाहिन्छन् । त्यो भएपछि समस्या छैन । तर, केही श्रीमान्हरूमा अहिले पनि अटोमेसनमा संशय छ । हामीले प्रधानन्यायाधीशलाई विश्वास गर्न सकिराख्या छैनौं भने अटोमेसन चलाउने मान्छेलाई विश्वास कसरी गर्ने भन्ने उहाँहरूको जायज संशयलाई मेटाउने संयन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने गृहकार्य पनि भइरहेको छ । केही समय त लाग्ला, तर हामी अटोमेसनमा जानुपर्ने अवस्थाचाहिँ छ ।
 
सर्वोच्च अदालतमा अहिले २८ हजार मुद्दा विचाराधीन छन् । अमेरिकामा सर्वोच्च अदालतले वर्षमा सय डेढ सय मात्र मुद्दा हेर्दो रहेछ । हामीकहाँ भने जिल्ला अदालतमा आएको मुद्दा सर्वोच्च नपुगेसम्म टुंगिँदैन । अथवा सुरु अदालतमै न्याय यही हो भनेर चित्त बुझाउने अवस्था र प्रवृत्ति छैन । जिल्ला अदालत छिरेको मानिस उच्च हुँदै सर्वोच्चसम्म पुगिसक्दा औसतमा पनि आठ–दस वर्ष बिताउँछ । न्याय छिटो टुंगिने र सुरु अदालतकै फैसलामा चित्त बुझाउने गुणस्तरको न्याय हामीले कहिले दिन सकौंला ?
अन्तिमसम्म नछोड्ने परिपाटी र चित्त नबुझाउने मानिसको स्वभाव हामीकहाँ उच्च छ । हिजोको दिनमा १५ पटकसम्म दरबारमा बिन्ती चढाउँदा नभएको काम सोह्रौं पटकको बिन्तीमा हुकुम बक्स हुँदा सर्वोच्चले दोहोर्‍याएका उदाहरण छन् । कहिलेकाहीं हार्नुपर्नेले जितेको र जित्नुपर्नेले हारेको उदाहरण पनि होला । तर, सर्वोच्चसम्म मुद्दा पुग्नुमा न्यायालयको मात्रै कारण छैन । कतिपयको मुद्दा लडिरहने प्रवृत्ति पनि छ । जस्तो, मैले वकालत गर्दा कुनै न्यायिक आधार नै नभएका मामिलामा पनि मानिसहरू मुद्दा लड्न आउँथे । त्यस्तोमा मैले बहस गर्नचाहिँ जान्नँ, मुद्दा लेख्नसम्म भए लेखिदिन्छु भन्ने गरेको थिएँ । अहिले पनि यस्ता धेरै उदाहरण भेटिन्छन् । अहिले गोलाप्रथा लागू गरेपछि न्यायालयका बारेमा सुनिने विकृति–विसंगतिका गुनासा कम सुनिएका छन् । यसले मुद्दा घटाउनमा पनि मद्दतै पुग्नेछ ।
 
प्रधानन्यायाधीशज्यूको अवकाशअघिको एक महिना सुरु भइसकेको छ । यो अवधि कुलिङ पिरियड हुनुपर्नेमा मधुमासजस्तो हुन पुगेको छ, किनभने गर्न बाँकी कामहरू निकै छन् । खास प्रधानन्यायाधीशका रूपमा हरिकृष्ण कार्कीको मूल्याङ्कन अबको एक महिनामा भएका कामका आधारमा हुनेवाला छ । तपाईंको योजना के छ ?
न्यायालयमा उठेका कतिपय गुनासा सम्बोधन गर्न हामीले केही नीतिमा परिवर्तन पनि गरेका छौं । गुनासा मुख्य दुई थिए— न्यायमा ढिलाइ भएको र न्यायमा निष्पक्षता नभएको । इजलास गठन गर्दा र पेसी तोक्दा नै यी दुई अनियमितताको सुरुआत हुन्छ भन्ने गुनासा पनि थिए । यी दुवै गुनासालाई सम्बोधन गर्ने गरी हामीले नीति बदलेका छौं । जस्तो कि, इजलास गठनमा हुने गडबडीलाई रोक्न गोलाप्रथा लागू भयो । पेसी तोक्दा हुने गडबडीलाई रोक्न एउटा मापदण्ड बनायौं । त्यसअनुसार पाँच वर्ष नाघेका मुद्दा, तीन वर्ष नाघेका रिट र नयाँ मुद्दा भनी वर्गीकरण गरेर दिनैपिच्छे यी मुद्दा सुनुवाइ गर्ने कोटा छुट्याएका छौं । यसले पेसी तोक्दा भएको गडबडीलाई अन्त्य गरेको छ । न्यायपालिकाको जनआस्था बढाउन न्यायालयको एक्लो प्रयास मात्र अपर्याप्त छ । राजनीतिज्ञ, न्यायपालिकाका अधिकारी र सञ्चारकर्मीहरूसहित बसेर कहाँकहाँबाट न्यायालयको जनविश्वास क्षय हुने काम भइरहेको छ भन्नेबारे खुला छलफल गर्न जरुरी छ । त्यस्तै न्यायाधीश नियुक्ति पनि अब स्वाभाविक ढंगबाट हुने परिपाटी विकास गर्न पनि मेरो जोड छ ।
 
साउन २० गते यहाँको अवकाश हुँदै छ । त्यतिन्जेलसम्मै कानुनमन्त्री व्यस्त हुने योजनामा देखिनुहन्छ । न्यायपरिषद्को बैठक नै नबस्ने र न्यायाधीश नियुक्ति नहुने सम्भावना यहाँले कत्तिको देख्नुभएको छ ?
म एकदमै आशावादी छु । छिटोभन्दा छिटो बैठक बसेर हामी एउटा निष्कर्षमा पुग्न सक्छौं भन्ने मलाई पूर्ण विश्वास छ ।

Page 8
परदेश

आप्रवासी विवादमा डच प्रधानमन्त्रीले दिए राजीनामा

आम्स्टर्डम (एजेन्सी)– सत्तारूढ दलबीच आप्रवासी नीतिमा सहमति नजुट्दा नेदरल्यान्ड्समा सरकार ढलेको छ । सत्तारूढ ४ दलबीच शरणार्थीसम्बन्धी सहमति नजुट्दा प्रधानमन्त्री मार्क रुटले राजीनामा दिएका हुन् । मार्क रुटले करिब डेढ वर्षअघि सरकार गठन गरेका थिए । तर गठबन्धन दलमा आप्रवासी नीतिलाई लिएर मतभेद थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आगामी नोभेम्बरमा चुनाव हुने सम्भावना छ । त्यतिन्जेलसम्मका लागि रुटले नै कामचलाउ सरकारको नेतृत्व गर्नेछन् । रुटको पिपल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) नेदरल्यान्ड्समा शरण लिनेहरूको संख्या कटौती गर्न चाहन्थ्यो । तर सत्ता गठबन्धनमा रहेका क्रिस्चियन युनियन र डी–६६ पार्टी भने उक्त प्रस्तावमा सहमत भएनन् । पछिल्लो समय नेदरल्यान्ड्समा शरण लिन चाहनेको संख्या बढिरहेको छ । गत वर्ष ४६ हजारभन्दा माथिले नेदरल्यान्ड्समा शरणका लागि आवेदन दिएका थिए । यस वर्ष उक्त संख्या ७० हजारभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
रुट नेदरल्यान्ड्समा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्तिसमेत हुन् । उनी सन् २०१० देखि त्यहाँको प्रधानमन्त्री छन् । अहिलेको गठबन्धनको सरकार २०२२ को जनवरीमा मात्र गठन भएको हो । नेदरल्यान्ड्सको संसद् १५० सदस्यीय रहेको छ भने सरकार बनाउन ७६ सांसदको समर्थन चाहिन्छ । रुटलाई भीभीडीका ३४ सहित ७७ सांसदको समर्थन थियो । गठबन्धनमा रहेका डी–६६ को २४, क्रिस्चियन डेमोक्रेटिक अपिलको १४ र क्रिस्चियन युनियनका ५ सांसद छन् । प्रतिपक्षमा पार्टी फर फ्रिडम (पीभीभी) का १७ सहित ७७ सांसद छन् । नेदरल्यान्ड्समा धेरै दलको प्रतिनिधित्व हुने भएकाले पनि एउटै दलले बहुमत ल्याउने अवस्था भने न्यून छ ।

परदेश

'अमेरिका–चीनबीच सिधा संवाद आवश्यक'

बेइजिङ (रासस/एएफपी)– अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै संवाद गर्न सुझाएको छ । चीन भ्रमणमा रहेकही अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा यस्तो प्रस्ताव गरेकी हुन् । ‘वासिङ्टन र बेइजिङले एकअर्काको विशेष आर्थिक अभ्यासबारे चासो भए सोझै संवाद गर्नुपर्छ । हालैको तनावका बाबजुद हामीले सन् २०२२ मा द्विपक्षीय व्यापारमा कीर्तिमान कायम गरेको तथ्यले पारस्परिक व्यापार र लगानीमा संलग्न हुने पर्याप्त स्थान रहेको स्पष्ट हुन्छ,’ येलेनले भनिन् ।
चीनको चारदिने भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्रीले दुई देशबीचको तनावलाई मत्थर गर्ने वासिङ्टनको चाहना व्यक्त गर्दै आपसी साझेदारी बढाउने प्रयास गरेकी छन् ।

परदेश

रुस–युक्रेन युद्धमा ९ हजारभन्दा बढीको मृत्यु

युद्धको ५ सय दिन बितिसक्दा लाखौं विस्थापित
मृत्यु हुनेमध्ये ५ सय बालबालिका
रुसी आक्रमणमा परी घाइते भएका युक्रेनीको उद्धार गरिँदै ।
फाइल तस्बिर: एपी

किभ (एजेन्सी)– रुस र युक्रेनबीच युद्ध सुरु भएको ५ सय दिन पुगेको छ । रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसयता मात्र युद्धमा मर्नेको संख्या ९ हजारभन्दा बढी पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार मृत्यु हुनेमध्ये ५ सय बालबालिका छन् भने हजारौं व्यक्ति घाइते भएका छन् ।
युक्रेनस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले शुक्रबार यस्तो तथ्यांक सार्वजनिक गर्दै ठूलो मानवीय क्षति भएकामा दुःख व्यक्त गरेको छ । साथै मृत्यु भएकाहरूको यकिन संख्या सरकारी आधिकारिक तथ्यांकभन्दा धेरै नै हुन सक्ने उक्त संगठनले जनाएको छ ।
शनिबार मात्रै पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी ८ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । रुसले पूर्वी दोनेत्स्कको आवासीय क्षेत्रमा मिसाइल आक्रमण गरेको हो । घटनामा १३ जना घाइते भएका छन् । यसअघि गत युक्रेनको पश्चिमी सहर ल्भिभमा बिहीबार मिसाइल आक्रमणकै क्रममा १० जना मारिनुका साथै ३७ जना घाइते भएका थिए । गत जुन २७ मा पूर्वी युक्रेनको क्रामातोर्स्कमा रुसी सेनाको मिसाइल आक्रमणबाट चार बालबालिकासहित १३ जना नागरिक मारिएका थिए ।
रुसले गत वर्षको फेब्रुअरीमा युद्ध सुरु गर्दा चाँडै अन्त्य हुने अपेक्षा गरेको थियो । तर, १६ महिना बितिसक्दा पनि युद्ध सकिने छाँटकाँट छैन । बरु युद्धका कारण लाखौं व्यक्ति प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार रुस समर्थित पृथकतावादीहरूले क्राइमिया र अन्य क्षेत्रहरू कब्जा गर्दा पूर्वी युक्रेनमा अघिल्लो आठ वर्षको आक्रमणमा भएको क्षतिको तुलनामा पछिल्लो ५ सय दिनमा त्यसको तीन गुणा धेरै मानिस मारिएका छन् । सन् २०२२ को तुलनामा यस वर्ष युक्रेनमा मृत्यु हुनेको संख्या औसतमा कम भए पनि मे र जुनमा यो संख्या फेरि बढेको अनुगमनकर्ताहरूले बताएका छन् ।
युद्ध सुरु भएयता ६० लाखभन्दा बढी युक्रेनी शरणार्थी बन्नुपर्ने अवस्था आएको राष्ट्रसंघले जनाएको छ । दोस्रो विश्वयुद्धपछिको यो सबैभन्दा छिटो शरणार्थी भएको अवस्था मानिएको छ । अधिकांश युक्रेनी युरोपेली देशमा शरण लिन बाध्य भएका छन् । अधिकांश शरणार्थी महिला र बालबालिका छन् । किनकि १६ देखि ६० वर्षका युक्रेनी पुरुषलाई देशमै रहन र रुसविरुद्ध लड्नका लागि निर्देशन दिइएको छ । किभ स्कुल अफ इकोनोमिक्सका अनुसार यस अवधिमा युद्धको क्षति १ सय ४३ अर्ब डलरभन्दा बढी छ । साथै, रुसले युक्रेनको २० प्रतिशत भूभाग कब्जामा लिएको अनुमान गरिएको छ ।
पछिल्लो महिना भने युक्रेनले रुसविरुद्ध जवाफी आक्रमण सुरु गरेको छ । उसले पूर्वी दोनेत्स्क र जापोरिज्जिया क्षेत्रमा पुनः आफ्नो पकड बनाउने प्रयास गरिरहेको छ । यसबीचमा आन्तरिक संघर्षका कारण रुस पनि केही तनावमा परेको छ । रुसका तर्फबाट युक्रेनमा लडिरहेको निजी सैन्य समूह वाग्नरले विद्रोह गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन संकटमा परेका थिए । तर, वाग्नर समूहका प्रमुख र पुटिन नजिक मानिएका यभगेनी प्रिगोजिनले विद्रोह फिर्ता लिएपछि तत्कालका लागि संकट भने टरेको छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्नेक आइल्यान्ड पुगेर युद्धरत आफ्ना सेनाहरूको प्रशंसा गरेका छन् । रुसले कब्जा गरेको यो क्षेत्रलाई युक्रेनले पछि फेरि आफ्नो नियन्त्रणमा लिएको थियो । ‘म यो विजय स्थानमा छु, जहाँबाट युद्धको ५ सय दिन पुगेको सन्दर्भमा आफ्ना सेनालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने । यसैबीच, शुक्रबार अमेरिकाले भने युक्रेनको फौजलाई थप हतियार प्रदान गर्ने जनाएको छ । तर हतियार प्रदान गर्ने अमेरिकाको घोषणालाई संयुक्त राष्ट्रसंघसहित अन्य देशहरूले विरोध जनाएका छन् ।

Page 9
अर्थ वाणिज्य

नेटवर्किङ कम्पनी थपिएको थपियै, विकृति बढेको बढ्यै

बन्द गर्नुपर्छ भन्दै हिँडेका सांसद नै दर्ता गराउन दबाब दिन्छन्
- राजु चौधरी,सजना बराल

(काठमाडौं)
प्रत्यक्ष बिक्रीका नाममा व्यवसायीले धमाधाम नेटवर्किङ व्यवसाय गरिरहँदा सरकारले भने कम्पनी थप्नै हतारो गरिरहेको छ । वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन–०७४ र नियमावली–०७६ को आडमा १७ व्यवसायीले इजाजत पाएका छन् । थप एक कम्पनी इजाजत पाउने क्रममा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । यस्ता व्यवसायीलाई ०७७ असार १६ देखि इजाजत दिन सुरु गरेको सरकारले नियमनमा भने ध्यानै दिएकै छैन । इजाजत पाएका धेरै कम्पनीका सञ्चालक पुरानै नेटवर्किङ गिरोहका सञ्चालक रहेको विभागकै कर्मचारी बताउँछन् । तर अध्ययनअनुसन्धानबिना धमाधाम इजाजत दिने क्रम रोकिएको छैन ।
करिब दुई वर्षअघि संसद्कै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘धेरैजसो व्यक्ति पहिला नेटवर्किङ व्यवसायमा संलग्न रहेको र पुनः नेटवर्किङसम्बन्धी गतिविधि नहोला भनेर ढुक्क हुने अवस्था भने रहेको पाइएन ।’ तर समितिको प्रतिवेदन दराजमा थन्काएर नियमन र छानबिनबाट विभाग पछि हटेको छ । प्रत्यक्ष बिक्रीका नाममा लाइसेन्स लिएका धेरैजसो व्यवसायीले नेटवर्किङ नै गरिरहेका छन् । र, सर्वसाधारण ठगिरहेका छन् ।
सरकारकै कारण बजारमा विकृति बढिरहँदा नियमन भने भएको छैन । सर्वसाधारण ठगी गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन कुनै चासो दिइएको छैनन् । ‘केही कम्पनीले नाम मात्रै परिवर्तन गरेका छन् । तिनको काम गर्ने उद्देश्य नेटवर्किङ नै हो, भित्रभित्रै नेटवर्किङ धन्दा चलाइरहेका छन्,’ विभागका ती कर्मचारीले भने, ‘व्यापारका नाममा विकृति बढिरहँदा हामीले नियमन गर्नै सकेनौं । नियमन नियन्त्रण गर्ने प्रविधि नै नभएकाले समस्या समाधान हुन सकेको छैन ।’
प्रत्यक्ष बिक्रीमा संलग्न एक व्यवसायीका अनुसार पछिल्लो समय विभागकै कर्मचारीसमेत प्रभावमा परेर इजाजत दिने क्रम रोकिएको छैन । ‘प्रत्यक्ष बिक्रीको उद्देश्य गलत नभए पनि केही व्यवसायीले नेटवर्किङ गरेर विकृति फैलाएका छन्, पिरामिड शैली, नेटवर्किङ धन्दा गरे ऐन, नियमावली र निर्देशिकाले कम्पनी नै खारेज गर्ने अधिकार दिएको छ,’ ती व्यवसायीले भने, ‘तर कर्मचारीले ऐन, नियमावली र निर्देशिका पालना गर्दैनन् । अनुगमन पनि गरिएको छैन ।’ उपत्यकाभन्दा जिल्लामा विकृति बढ्दो रहेको बताइएको छ ।
विभागमा नयाँ महानिर्देशक आएलगत्तै नेटवर्किङ गर्ने व्यवसायीलाई कारबाही गर्ने, कानुनी दायरामा ल्याइने बताउने गरिए पनि त्यसपछि यत्तिकै सेलाउने गरेको छ । पछिल्लो समय सांसद नै कम्पनी दर्ता गराउन लागिपरेको पनि भेटिएको छ । ‘नेटवर्किङ गर्ने, उपभोक्ता ठगी गर्ने व्यवसाय बन्द गराउनुपर्छ भन्दै चर्को स्वरमा बोल्ने सासंद्ले नै इजाजत दिन दबाब दिने गरेका छन् । दबाबकै कारण केही कम्पनी दर्तासमेत भएका छन्,’ विभागका ती कर्मचारीले भने ।
नेतादेखि प्रहरीको समेत नेटवर्किङ कम्पनीमा लगानी भएपछि विभागका कर्मचारीले अनुगमनमा समेत चासो दिएका छैनन् । विभागका ती कर्मचारीको भनाइलाई १७ मध्येकै एक अवर्जन ट्रेडिङ प्रालिको कारोबारले पनि पुष्टि गर्छ । सौन्दर्य प्रशोधन, घडी, जिम वा फिटनेसका उपकरण बेच्ने ई–कमर्स प्लाटफर्मका रूपमा दर्ता भएको अवर्जन ट्रेडिङ प्रालि नेटवर्किङ व्यवसाय गर्ने कम्पनी भएको एक कर्मचारीले जनाए । यससँगै विभागमा दर्ता भएका १७ कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री गर्न इजाजत दिइएको छ । यी कम्पनीका एजेन्ट तथा सदस्यले रकम ठगेका घटना बेलाबखत बाहिर आइरहे पनि कम्पनी निर्बाध चलिरहेका छन् ।
त्यसैको एउटा उदाहरण हो, अवर्जन । नेपालमा प्रतिबन्धित क्युनेट कम्पनी अवर्जनसँग गाभिएर अहिले नयाँ नामबाट यसले पिरामिड आकारको नेटवर्किङ व्यवसाय विस्तार गरिरहेको खुल्न आएको छ ।
अवर्जनले गत वर्ष ठमेलको छाया सेन्टरमा आयोजना गरेको भेलामा देशभरका सदस्य उपस्थित थिए । हाल यसले आफूहरूको ‘अनलाइन बिजनेस’ मा आबद्ध भए विदेश भ्रमण, हीराका गरगहनालगायत सुविधा प्राप्त हुने प्रलोभन देखाई सदस्य बन्न उक्साउने गरेको छ ।
केही समयअघि भक्तपुरको एक मन्टेस्सोरीमा पढाउने ममता अमात्य हिजोआज शिक्षण पेसा छाडेर यही क्युनेट (क्यूभीआई अवर्जन) मा पूर्ण रूपमा लागेकी छन् । उनले आफ्नै परिवारका सदस्य, नजिकका साथीभाइसहित स्कुलका सहकर्मी शिक्षक/शिक्षिका र कतिपय अभिभावकलाई समेत जनही पाँच लाख रुपैयाँ सदस्यता शुल्क लिएर ‘अनलाइन बिजनेस’ मा संलग्न गराई रकम ठगी गरेको पीडित बताउँछन् । क्युनेट नेपालमा प्रतिबन्धित भएकाले हाल अवर्जन नाममा दर्ता भएर यो सञ्चालनमा छ ।
ठमेलको छाया सेन्टरमा यसको सोरुम छ जहाँ स्याम्पू, घडी, जिम उपकरणलगायत सामान बिक्रीका लागि राखिएका छन् । देखावटी कम्पनी खडा गरेर यसले नेटवर्किङ धन्दा चलाइरहेको पीडितको भनाइ छ । ‘पोहोरको भेलामा क्युनेटका मुख्य मान्छे आएका थिए, उनीहरूले यसमा लागेपछि आफ्नो जीवन कसरी फेरियो भनेर सुनाए,’ भक्तपुरकी एक पीडित महिला भन्छिन्, ‘त्यहाँ हामीलाई ६ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क तिरेर अनिवार्य उपस्थित हुनैपर्छ भनिएको थियो । दाङ, बुटवल, विराटनगर, धरानदेखि मान्छे आएका थिए । अवर्जनले देशैभरि सञ्जाल फैलाउन खोजिरहेको छ । हामीलाई हलभित्र फोटो, भिडियो खिच्न दिइएन । तर मैले लुकेर एउटा भिडियो खिचेकी छु ।’
उनका अनुसार धेरैजसो सदस्य गृहिणी महिला थिए । इन्टरनेटमा युट्युब, फेसबुक मात्रै चलाउन जान्ने र घर बस्दा–बस्दा थाकेर केही काम गरौं भन्ने अवस्थामा पुगेका महिलालाई फसाउने गरिएको उनको बुझाइ छ । आफूले पनि केही कमाइ गरेर परिवारलाई साथ दिऊँ भन्ने उद्देश्यले आफन्तसँग ब्याजमा ऋण लिएर ममतालाई ५ लाख रुपैयाँ बैंक ट्रान्सफर गरिदिएको उनले बताइन् । पाँच लाख दिएपछि उनले ह्वाट्सएप ग्रुप र जुम मिटिङमा प्रवेश पाएकी थिइन् । त्यहाँ उनलाई आफू जसरी क्युनेटमा सदस्य बनिन्, उसैगरी अन्यलाई सदस्य बनाए जनही ५० हजार कमिसन आउने बताइयो । आफूले सदस्य बनाएको मान्छेले अन्यलाई सदस्य बनाए १० हजार कमिसन आउने । उनलाई आफ्ना श्रीमान्, दिदी, बहिनीलगायत आफन्त र साथीभाइलाई पनि ५ लाख तिराएर सदस्य बनाउन करकाप गरेपछि उनले यो ठगी काम भएको बुझिन् ।
दुःखजिलो गरेर दुई सन्तानसहितको परिवार धानिरहेकी सिनामंगलकी रमा (नाम परिवर्तन) लाई एक दिन उनका छोराको विद्यालयकी शिक्षिका उनै ममता अमात्यले फोन गरिन् ।
‘मेरो बाबु मन्टेश्वरीमा छँदा ममता म्याम उसको क्लास टिचर थिइन्, उनले पोहोर साल ठ्याक्कै यही बेला मलाई अचानक फोन गरेर हालखबर सोधिन्,’ रमा भन्छिन्, ‘छोराको शिक्षकले फोन गरेर सोधिखोजी गर्दा खुसी नै लागेको थियो । उनले भोलिपल्ट फेरि फोन गरिन् । मेरो काम, जागिरबारे सोधिन् । मैले बाबु ठूलो भयो, अब काम गर्ने विचार छ भनें । तपाईंको के छ नि भनेर सोध्दा उनले एकदम राम्रो छ, अनलाइन बिजनेस गर्छु, भर्खरै विदेश गएर आएको भनिन् । उनको फेसबुकमा विदेश जाँदाको फोटो राखिएको थियो । मैले राम्रो काम भए त हामीले पनि गर्न सक्थ्यौं कि भनेर सोधें । उनले माथि सोध्नुपर्छ, अहिले भ्याकेन्सी छैन भनिन् ।’
रमाका अनुसार ममताले केही दिनपछि पुनः फोन गरेर ‘साँच्चिकै काम गर्ने भए कुरा राखिदिन्छु, अप्वाइटमेन्ट मिलाइदिन्छु’ भनिन् । रमाले हुन्छ भनेको भोलिपल्टै जुम मिटिङ भयो । जुममा मीना महर्जन, मनोज, ममतालगायतले ५ लाख रुपैयाँको प्याकेजबारे बताए । ‘पाँच लाख दिएपछि १० वर्षमा ६ चोटि विभिन्न देश जान पाइन्छ भने,’ रमा सम्झिन्छिन्, ‘चार जनाको हवाई टिकट र पाँचतारे होटलमा बस्न पाइन्छ भने । यो एउटा अफर थियो भने अर्को चाहिँ हीराको पेन्डेन्ट लिन पाइन्थ्यो । मलाई ट्राभल एन्ड टुर ठिक लाग्यो ।’
जुम मिटिङपछि रमालाई ५ लाख तिरेर तुरुन्तै सदस्य नबने अर्कोलाई नियुक्त गरिने भन्दै ममताले दिनहुँ दबाब दिन थालिन् । रमाले सुरुमा १ लाख र अर्को पटक ४ लाख रुपैयाँ ममताको लक्ष्मी बैंकको खातामा जम्मा गरिदिइन् । उनलाई जुम मिटिङमा नयाँ सदस्य कसरी बनाउने भन्नेबारे तालिम दिइयो । योसम्बन्धी पुस्तक पढ्न लगाएर परीक्षा नै लिने गरेको उनले चाल पाइन् । ‘नयाँ सदस्य बनाउने भन्नासाथ मलाई यो नेटवर्किङ त हैन भन्ने शंका लाग्यो,’ रमा भन्छिन्, ‘मैले यसबारे सोध्दा झर्केर होइन भने । तर मलाई गलत काम भइरहेको छ जस्तो लागिरह्यो ।’
त्यसको केही समयपछि छाया सेन्टरमा अवर्जनले गरेको भेलामा उनले आफूजस्ता अन्य महिला र छोराकै विद्यालयका अन्य शिक्षिका पनि भेटिन् । उनीहरूले हैरान हुँदै ‘तपाईं पनि ठगिनुभयो ?’ भनेपछि रमालाई छाँगाबाट खसेझैं भयो । ‘म एकल आमा हुँ, दुःख गरेर दुई सन्तान पढाउने, हुर्काउने गरिरहेकी छु, मेरो संघर्ष ममता म्यामलाई थाहा थियो, तैपनि ठग्नुभयो,’ उनी भन्छिन्, ‘५ लाख त्यता डुबेपछि मैले छोराछोरीको स्कुल फी तिर्न सकेकी छैन । महिनाको १० हजार ब्याज र कोठा भाडाले सताइरहेको छ । डिप्रेसन जस्तो भएको छ ।’
विभाग स्रोतका अनुसार अवर्जनको ठगी धन्दाबारे उजुरी नपरेको पनि होइन । तर कुनै सुनुवाइ भएको छैन । ‘ठगी गरेको भन्दै केही महिनाअघि उजुरी नै परेको थियो, तर अध्ययन अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनै कसैले चाहेन,’ विभागका ती कर्मचारीले भने ।
पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरी नेटवर्किङ धन्दा चलिरहेको छ । प्रत्यक्ष बिक्रीका हकमा वाणिज्यमा दर्ता गर्न पाउने भएपछि ठगी धन्दा सलबलाएको छ । प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ गरिरहेको फेला परेपछि विभागका पूर्वमहानिर्देशक महेश भट्टराईले २० बुँदे निर्देशन दिएका थिए । वस्तुको बिक्री बढाउने प्रयोजनका लागि वस्तुको प्रत्यक्ष बिक्री (नियमन तथा व्यवस्थापन गर्ने) ऐन, ०७४ को दफा ११ को देहाय खण्ड (ङ) विपरीत व्यावसायिक दृष्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार वा कमिसनको प्रलोभन देखाउने कार्य नगर्नू/नगराउनू भन्ने निर्देशन थियो । तर निर्देशनविपरीत धमाधम नेटवर्किङ फैलिरहेको छ ।
कतिपयले विभागको निर्देशन अटेरी गर्दै कम्पनीको विवरणसमेत बुझाएका छैनन् । आफू विभागमा नयाँ भएकाले यस विषयमा अध्ययन गरिरहेको विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । अनुगमन गर्न भने कर्मचारीको अभावले समस्या भएको उनको भनाइ छ । ‘विभागमा भर्खर आएकाले प्रत्यक्ष बिक्रीका विषयमा अध्ययन गरिरहेको छु । विदेशमा प्रत्यक्ष बिक्रीको अवस्था र नेपालको अवस्थाबारे अध्ययन गरिरहेको छु,’ उनले भने, ‘अध्ययनअनुसन्धानपछि थप निर्णय लिन्छु ।’

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका नेटवर्किङ कम्पनी
१.     आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि
२.     नेचर हर्ब्स इन्टरनेसनल प्रालि
३.     न्यु विवेक इन्टरप्राइजेज प्रालि
४.     हेल्दी लिभिङ नेपाल प्रालि
५.     केयर मार्ट्स इन्टरप्राइजेज प्रालि
६.     युटर्न इन्टरनेसनल प्रालि
७.     ग्लोबल ओरियन्स नेपाल प्रालि
८.     अपी लाइफ इन्टरनेसनल प्रालि
९.     केयर नेसन इन्टरनेसनल प्रालि
१०.    गोल्डेन नेपाल मार्केटिङ प्रालि
११.    जीएस मल्टी ट्रेड इन्टरनेसनल प्रालि
१२.    अवर्जन ट्रेडिङ प्रालि
१३.    प्राइम आटर््स प्रालि
१४.    ग्रेट बिजनेस ग्लोबल माटर््स प्रालि
१५.    इलाइट भ्याग्नेसा प्रालि
१६.    मल्टी रिच इन्टरनेसनल प्रालि
१७.    एसियन फाइफ केयर इन्टरनेसनल
१८.    रेसोन्नेन्ट अर्ग्यानिक्स प्रालि (दर्ता प्रक्रियामा)

अर्थ वाणिज्य

प्रसारण लाइनमा जताततै समस्या

लोडसेडिङ दोहोरिने जोखिम
- कमल धिताल

(काठमाडौं)
बिजुली प्रसारणलाई अत्यावश्यक प्रसारण लाइन निर्माणमा संघदेखि स्थानीय तहसम्ममै समस्यै समस्या देखिएको छ । केन्द्रमा सरकारका ऐन, नियम तथा निर्माण स्थलमा स्थानीयको अवरोधले प्रसारण लाइन निर्माणमा समस्या हुँदा देशमा पुनः लोडसेडिङ निम्तिने जोखिम बढेको नेपाल विद्युत् प्राधिकरणले चेतावनी दिएको छ ।
अहिले राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता २७ सय मेगावाट हाराहारी पुगेको छ । वर्षायाम सुरु भएसँगै विद्युत् उत्पादन बढ्दै गएको र यसले अबको केही समयमा उत्पादन गृहहरू पूर्ण क्षमतामा चल्ने प्राधिकरणको भनाइ छ । तर उत्पादित बिजुली प्रसारणका लागि चाहिने संरचना निर्माणमा समस्यै समस्या हुँदा खेर जाने सम्भावना बढेको छ । यसले एकातिर उत्पादन भएको बिजुली खेर जाने र अर्कातर्फ देशलाई समेत ठूलो नोक्सानी हुनेछ ।
निर्माणाधीन प्रसारण लाइनमा अवरोध कायमै रहे अर्को वर्ष सिस्टमले लोड नधान्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । प्रसारण लाइन निर्माणमा समयमै रूख काट्ने स्वीकृति नपाइने र पाएको अवस्थामा पनि वनका कर्मचारीले विभिन्न बहानामा काम अड्काइदिने परिपाटीले प्रसारण लाइन निर्माणमा निकै समस्या रहेको घिसिङको भनाइ छ ।
प्राधिकरणले निर्माण गरिरहेको हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन र हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइनमा पनि हेटौंडा क्षेत्रमा अवरोध कायम रहे आगामी वर्ष विद्युत् प्रसारणमा ठूलो समस्या पर्ने घिसिङले जनाए । देशका हरेक स्थानमा प्रसारण लाइन निर्माण दिनानुदिन अप्ठ्यारो हुँदै गएको र प्रसारण लाइनकै समस्याले पूर्वी क्षेत्रमा विद्युत् कटौती भइरहेको प्राधिकरणको भनाइ छ । ‘यस वर्ष जेनतेन थेग्यौं, अर्को वर्ष लाइन बनेन भने डिजास्टर हुनेवाला छ,’ घिसिङले भने, ‘पूर्व–पश्चिममा विद्युत् आपूर्तिका लागि १३२ केभीको मात्र लाइन छ, यसले त्यस क्षेत्रको माग कसरी धान्ने ?’
पछिल्लो समय माग बढ्दै गएको र सोहीअनुसार प्रसारण लाइन संरचना नहुँदा ट्रिपिङको समस्या हुन थालेको घिसिङको दाबी छ । प्रसारण लाइन निर्माण गर्दा वन क्षेत्र सजिलो पर्ने र जोखिम कम हुने हुँदा यसलाई प्राथमिकता राखिन्छ । तर वनबाट प्रसारण लाइन बनाउन निकै समस्या रहेको र वनका कर्मचारीले अप्ठ्यारो बनाउने प्राधिकरणको भनाइ छ ।
कतिपय स्थानमा प्रसारण लाइनको स्तरोन्नति गर्दासमेत पहिला मुआब्जा नपाएको भन्दै समस्या गर्ने गरेको प्राधिकरणले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरिरहेका छन् । करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नुपर्नेलगायत माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध रहेको प्राधिकरणको भनाइ छ । समयमै प्रसारण लाइन नबन्दा कतिपय विद्युत् गृहबाट उत्पादित विद्युत् पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको पनि प्राधिकरणले बताएको छ ।
हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित सबस्टेसनबाट कमानेसम्मको ९.५७ किमि प्रसारण लाइनमध्ये एउटा सर्किटको ७.५ किमि तार फेरिएको छ । हेटौंडा–कमाने खण्डमा तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो काटेर अस्थायी रूपमा बाँधिएको छ । स्थानीयको अवरोधले बाँकी काम रोकिएको प्राधिकरणले जनाएको छ ।
तराई क्षेत्रमा विद्युत् माग बढेको तर कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायत समस्या आई विद्युत् माग व्यवस्थापन गर्न असहज भएको प्राधिकरणले प्रस्ट्याएको छ ।
हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइनमा वन कार्यालयले रूख कटान अनुमति नदिँदा समस्या परेको आयोजना प्रमुख विश्व रञ्जन मिश्रले जनाए । ‘वन कार्यालयले समयमै रूख कटान अनुमति नदिने, दिए पनि १० वटा रूख काटेर व्यवस्थापन गरेपछि मात्रै अरू रूख काट भन्ने गरेको छ,’ उनले भने, ‘यसले त रूख काट्नमै वर्षौं जाने भयो ।’


प्रसारण लाइनमा निर्माणमा रूख काट्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि पनि स्थानीय वन कार्यालयले निकै सास्ती दिने गरेको मिश्रको गुनासो छ । ‘सरकारले स्वीकृत गरे पनि स्थानीय तहले काममा अवरोध गरिरहन्छन्,’ उनले भने, ‘प्रदेश स्थापना भएसँगै प्रदेशका पनि ढोका चहार्नुपर्ने अवस्था छ । यसले झनै प्रक्रिया ढिला बनाइदिएको छ ।’ नयाँ बुटवल २२० केभी प्रसारण लाइनमा हाल सुनवल क्षेत्रमा समस्या रहेको मिश्रको दाबी छ ।
सुनवलका क्षेत्रीय वन अधिकृत मनोज न्यौपाने भने प्राधिकरणको लापरबाहीले समस्या पारेको बताउँछन् । ‘हामी उहाँहरूलाई रूख काट्ने अनुमति दिन्छौं, तर त्यसको राम्रो व्यवस्थापन नै नगरी छाड्नुहुन्छ,’ उनले भने, ‘प्राधिकरण गैरकानुनी रूपमा अगाडि बढ्न खोजेका कारण पनि समस्या भएको हो । नियमानुसार आए कुनै समस्या छैन ।’ हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइनमा पनि हेटौंडा क्षेत्रमा अवरोध कायम रहेको प्राधिकरणको भनाइ छ ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, १६ र १७ नम्बर वडा अनि सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि प्रसारण लाइन निर्माणमा अवरोध रहेको आयोजना प्रमुख श्यामसुन्दर दासले जानकारी दिए । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण निकै महत्त्वपूर्ण रहेको प्राधिकरणले बताएको छ ।
प्रसारण तथा वितरण प्रणालीको क्षमताले नधान्दा वीरगन्ज औद्योगिक करिडोर र बाँकेको कोहलपुर क्षेत्रका उद्योगमा साँझको पिक समयमा विद्युत् आपूर्तिमा समस्या रहेको घिसिङले जनाए । प्रसारण तथा वितरण प्रणाली सुधारका लागि अगाडि बढाइएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि जताततैबाट अवरोध हुने गरेको उनको भनाइ छ ।
‘प्रसारण तथा वितरण प्रणाली सुधारका लागि देशैभर काम भइरहेका छन् । तर जताततै अवरोध हुँदा काम गर्न सकिएको छैन, भरपर्दो र गुणस्तरीय विद्युत् खोज्ने तर आफ्नो घर छेउमा ट्रान्सफर्मर राख्न नदिने प्रवृत्ति छ,’ उनले भने । कालीगण्डकी करिडोर र बर्दघाट–नयाँ बुटवल प्रसारण लाइनमा पर्ने रूख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय भएको ४/५ वर्ष पूरा हुँदासमेत अहिलेसम्म वनबाट रूख कटान आदेश नपाएको घिसिङ बताउँछन् ।
‘मन्त्रिपरिषद्बाट निर्णय भएको ५ वर्षसम्म रूख कटानको आदेश पाउन सक्दैनौं, वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानका लागि रकम जम्मा गरिसकेका छौं । तर अहिलेसम्म सम्झौता हुन सकेको छैन, काममा कतैबाट सहयोग नभएपछि प्राधिकरणले कसरी काम गर्न सक्छ ?’ वन, भूमिसुधारलगायत निकायले यसमा सहयोग गरिदिनुपर्नेमा उनले जोड दिए ।
‘लोडसेडिङ अन्त्य भयो, ऊर्जा क्षेत्रमा लगानी गर्नु पर्दैन भन्ने गरिन्छ, तर खपत बढाउन र विद्युत् निर्यातका लागि पाँच वर्षभित्र झन्डै ८ खर्ब रुपैयाँ लगानी चाहिन्छ,’ घिसिङले भने, ‘प्राधिकरणले विगतमा कमाएको नाफाबाट एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ, यो लगानी नगरेको भए अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्थ्यो ।’

अर्थ वाणिज्य

भारतको दाँजोमा चीन–नेपाल उडान गर्ने वायुसेवा धेरै

- सुरज कुँवर

(काठमाडौं)
लकडाउनअघि चीनको सियानबाट काठमाडौं सिधा उडान गर्ने तिब्बत एयरलाइन्सलाई नेपालले अनुमति दिएसँगै भारतीय वायुसेवाको दाँजोमा चीन–नेपाल उडान गर्ने वायुसेवाको संख्या ७ पुगेको छ । प्राधिकरणले बिहीबार तिब्बत एयरलाइन्सलाई असार अन्तिम सातादेखि आइतबार र बिहीबार गरी सातामा दुई दिन सियान–काठमाडौं–सियान व्यावसायिक उडान अनुमति दिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जनाए ।
तिब्बत एयरलाइन्स थपिएपछि चीन–नेपाल हवाई रुटमा हिमालय एयरलायन्ससहित वायुसेवाको संख्या ७ पुगेको हो । नेपालमा चीनको छेन्दु–तियान्फुबाट एयर चाइना र सिचुवान, ग्वाङझाउबाट चाइना साउर्दन, कुन्मिङबाट चाइना इस्टर्न तथा हङकङबाट क्याथे प्यासिफिकले उडान गर्दै आएका छन् ।
चीनको राजधानी बेइजिङमा काठमाडौंबाट हिमालय एयरलाइन्सले उडान गर्दै आएको छ । यी ६ वायुसेवाको सूचीमा असार २८ देखि तिब्बत एयरलाइन्स पनि जोडिँदै छ । नियमित उडानअघि तिब्बतले आइतबार सियानबाट काठमाडौं चार्टर उडान गर्दै छ । तिब्बतको ल्हासा विमानस्थल हब भएको तिब्बत एयरलाइन्सले कोभिड फैलिनुअघि काठमाडौंमा चार्टर उडान गर्दै आएको थियो ।
यता छिमेकी मुलुक भारत–नेपालको हवाई रुटमा भने ६ वटा वायुसेवा छन् । यसमा एयर इन्डिया, इन्डिगो र भिस्तारा गरी भारतीय वायुसेवाको संख्या तीन मात्रै छ । एक दशकअघि भारतबाट जेट, किङफिसर, स्पाइसजेट, जेटलाइट, एयर इन्डिया र इन्डिगो गरी ६ वटा भारतीय वायुसेवाले उडान गर्ने गरेको सहप्रवक्ता भुल बताउँछन् ।
भारतका लागि नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दिल्ली, मुम्बई र बैंग्लोर अनि बुद्ध एयरले बनारस उडान गर्दै आएका छन् । अब नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ३० पुगेको छ । यसमा २७ विदेशी र हिमालय, नेपाल वायुसेवा निगम र बुद्ध गरी तीन नेपाली वायुसेवा छन् ।
कोभिडपछि पनि हवाई यातायातमा अत्यधिक कठोर प्रकृतिका प्रोटोकल लागू गरिरहेको चीनमा अब निर्बाध यात्रा गर्न सकिने प्राधिकरणले जनाएको छ । चिनियाँ हवाई रुटमा नेपाली विद्यार्थी, चिनियाँ पर्यटक, व्यापारी र चीन हुँदै तेस्रो मुलुक जाने नेपाली बढी रहेको प्राधिकरणको भनाइ छ ।

अर्थ वाणिज्य

देश–देशमा कर्णालीको मह

परम्परागत मौरीपालनलाई व्यावसायिक बनाएका किसान आत्मनिर्भर हुने बाटोमा
- कृष्णप्रसाद गौतम
आफूले पालेका मौरीको रेखदेख गर्दै सल्यानको कालीमाटी गाउँपालिकाका किसान ।
तस्बिर: विप्लव महर्जन/कान्तिपुर

(सुर्खेत)
दुई वर्षअघि जाजरकोटको नलगाड नगरपालिका–१ कलपत पुगे मौरीविज्ञ बेलायती नागरिक ७३ वर्षीय रुडी रेप्का । कल्पतमा मह राम्रो उत्पादन हुन्छ भन्ने थाहा पाएर त्यहाँ पुगेका उनले झन्डै एक महिना गाउँमा बसेर स्थानीय किसानलाई मौरीपालनका विभिन्न उपाय र सीपबारे जानकारी दिए । अहिले उनले नेपालको महलाई विश्वबजार पुर्‍याइरहेका छन् । उनकी पत्नी लिडिया अनियला रेप्काले पनि बेलायतमा नेपाली महलाई बजारीकरण गर्दै छिन् ।
जाजरकोटकै नलगाड नगरपालिका–४ सिलालका धर्मराज रावलले गत ३५ घारमा मौरी उत्पादन गरिरहेका छन् । गत वर्ष उनको मौरीपालन फार्मबाट एक सय ५० किलो उत्पादन भएको थियो । उनले त्यो सबै उनका भाइ हरिबहादुर सञ्चालक रहेको काठमाडौंको कीर्तिपुरस्थित कर्णाली एग्रो स्टेसनमा पठाए । ‘सबै मह विदेशमा गएछ,’ उनले भने, ‘अब त चिनो, कागुनो, फापर, मार्सीसँगै कर्णालीको महले पनि विदेशी बजार पायो, बर्सेनि मूल्यसँग बजार पनि बढ्दै गएको छ ।’ नलगाड नगरपालिकामा मात्रै २ सय ५० जना व्यावसायिक मौरीपालक किसान रहेको उनले जनाए । तर वन विनाश, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मौरीपालनमा समस्या आएको उनले बताए । अर्गानिक महका लागि मौरीको सबैभन्दा उत्तम आहारा चिउरी मानिन्छ । पानी कम पर्दा मह उत्पादन बढ्ने रावलको भनाइ छ ।
कर्णालीमा सेराना, कठ्यौरी, पुतुका र भीर मौरीको बासस्थान छ । पारस्थितीय प्रणाली सन्तुलित रहेकाले कर्णालीमा मौरीपालनको राम्रो सम्भावना रहेको अहिले नलागड नगरपालिकाले समेत मौरीपालनमा किसानलाई थप व्यावसायिक बनाउन विभिन्न योजना अघि सारेको छ । नगरका धेरैजसो गाउँलाई मौरीपालनको पकेट क्षेत्रका रूपमा विकास गर्न खोजिएको नगरप्रमुख रत्नबहादुर खड्काले बताए । अन्तर्राष्ट्रिय बजारको मापदण्ड पूरा गर्न सके महको बजारीकरणमा कुनै समस्या नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किट विकास केन्द्रका विज्ञ हरिहर अधिकारीले जनाए ।
कर्णालीमा मह उत्पादनका लागि जाजरकोट, सल्यान र हुम्ला पकेट क्षेत्र मानिन्छन् । कर्णालीमा ३० हजार ५ सय ४६ हेक्टर क्षेत्रफलमा मह उत्पादन हुन्छ । प्रदेशभरि ३ सय ९१ टन मह उत्पादन हुने गरेको कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये जाजरकोटमा ११ सय ८५ हेक्टरमा मौरीपालन गरिएकामा ३५ टन र ७७ सय २५ हेक्टरमा मौरीपालन गरिएको सल्यानमा ३८ टन र २६ सय ४० हेक्टरमा मौरीपालन गरिएको हुम्लामा २१ टन मह उत्पादन हुने मन्त्रालयले जनाएको छ । यस वर्ष तीनवटै जिल्लामा उत्पादन बढेको मन्त्रालयले बताएको छ ।
गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले मह उत्पादनमा वृद्धि भएको मन्त्रालयका धनबहादुर कठायतको भनाइ छ । जाजरकोटको नलगाड नगरपालिकाको कल्पत, पाली, चिउरी, डाडागाउँ, लहँ, खगेनकोट र भेरी नगरपालिकाको पिपे, मैदे, डुँग्रीकाडा, पुराना रिसाङलगायत क्षेत्रमा मह उत्पादन बढेको छ । ‘विभिन्न रोगका कारण मौरी घार घटेका छन्, तर घार कम भए पनि मह उत्पादन बढेको छ,’ उनले भने, ‘यस वर्ष १ सय टन मह उत्पादन भएको अनुमान छ ।’ एक टन महको मूल्य उत्पादन क्षेत्रमै १६ लाख पर्ने उनले जनाए ।
हिमाली जिल्ला हुम्लामा पनि मह उत्पादन बढ्दै गएको छ । स्थानीय बजारमा गत वर्ष प्रतिकिलो पाँच सयमा बिक्री भएको महको मूल्य यस वर्ष सात सय रुपैयाँ पुगेको छ । अर्गानिक कात्तिके महको माग बढेपछि मूल्य बढ्दै गएको हो । मह उत्पादन बढेपछि ग्रामीण क्षेत्रका किसानलाई घर व्यवहार चलाउन सजिलो भएको छ । मौरीमा मिहिनेत र लगानी कम लाग्ने र आम्दानी धेरै हुने गरेको सर्केगाड–३ का किसान रणबहादुर बुढाले बताए । जिल्लाको अर्गानिक महले मानव स्वास्थ्यलाई चाहिने पोषणको आपूर्तिमा टेवा पुग्ने गरेका कारण माग बढ्दै गएको छ । हुम्लामा झन्डै ६ हजार मौरीघार रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख चन्द्रभूषण झाले जनाए ।
मन्त्रालयले ५ वर्षमा मौरीपालनको विस्तार र बजारीकरणमा झन्डै ७ करोड रुपैयाँ खर्च गरिसकेको छ । आगामी आर्थिक वर्षमा जाजरकोट र हुम्लालाई मह उत्पादनको हबका रूपमा विकास गर्ने गरी झन्डै ३ करोड बजेट विनियोजन गरिएको छ । ‘यहाँको महको माग विदेशी बजारमा समेत व्यापक छ, परम्परागत मौरीपालनलाई व्यावसायिक बनाउँदै किसान क्रमशः आत्मनिर्भर भइरहेका छन्,’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले भने, ‘किसानलाई थप व्यावसायिक बनाई महको प्रशोधन र ब्रान्डिङलाई आगामी वर्षमा विशेष कार्यक्रमका रूपमा लिएका छौं ।’

Page 10
अर्थ वाणिज्य

माथिल्लो कर्णालीमा ढुक्क छैनन् स्थानीय

- कृष्णप्रसाद गौतम

(सुर्खेत)
सर्वोच्च अदालतले शुक्रबार माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राव (जीएमआर) लाई सरकारले थप गरेको म्यादलाई वैधता दिएको छ ।
तर लगानी जुटाउने बहानामा जीएमआरले पटकपटक थपेको म्यादबाट आजित स्थानीय आयोजना बन्नेमा अझै ढुक्क छैनन् ।
दैलेखको आठबीस नगरपालिका–१ डाबका कमल शाहीको ९ रोपनी जग्गा ४ वर्षअघि आयोजनाले अधिग्रहण गर्‍यो । उनले त्यो जग्गामा न कुनै संरचना बनाउन सकेका छन् न अरूलाई बेच्न । ‘जग्गा न आफ्नो भएको छ, न आयोजनाको,’ उनले भने, ‘आयोजनाका नाममा सम्झौता गरिसकेको जमिनमा घरटहरा बनाउन पनि सकिएन, न खेती गर्न नै ।’ आयोजनास्थल आसपास ४ सय २६ घरधुरी छन् । त्यसमध्ये झन्डै ७५ प्रतिशत बासिन्दाले मुआब्जा पाउन बाँकी रहेको उनले जानकारी दिए । आयोजनाले ४८.५९ हेक्टर जमिन आवश्यक पर्नेमा करिब ९.८३ हेक्टर जग्गा मात्र अधिग्रहण गरेको छ । तर जग्गा अधिग्रहण गरिएका स्थानीयले समेत अझै मुआब्जा पाएका छैनन् ।
जीएमआरले आफूहरूको आँखामा छारो हालिरहेको स्थानीय अगुवा नरेन्द्र केसी बताउँछन् । आयोजनाको पीडीएमा हस्ताक्षर गरेको सम्झौताअनुसार करिब ५ वर्षभित्रमा निर्माण सक्नुपर्ने थियो । ‘आयोजना बनाउने नाममा स्थानीयको जग्गा र नदी वर्षौंदेखि होल्ड गरिएको छ,’ उनले भने, ‘मुआब्जा पाउने आसमा स्थानीय ऋण लिएर ब्याजको चक्कर काटिरहेका छन् ।’ आफूहरू जग्गा भएर पनि सुकुम्बासी जस्तै बनेको आठबीस–१ का गोविन्द शाहीले बताए । उनको पनि ७ रोपनी जग्गा आयोजनाले अधिग्रहण गरेको छ । ‘मुआब्जा दिन्छौं भन्ने आयोजनाका कार्मचारीले ४ वर्षदेखि झुलाइरहेका छन्,’ उनले भने, ‘न भविष्यको योजना बनाउन सकिएको छ, न ठाउँ छोड्न नै ।’ ०६६ सालमा आयोजनाले आफूहरूसँग सम्झौता गर्दा जमिनमा घरटहरा बनाए र अन्य कारोबार गरे मुआब्जा नपाउने उल्लेख गरेकाले आफ्नै जमिन पनि प्रयोग गर्न नसकिएको उनको गुनासो छ ।
स्थानीय झन्डै डेढ दशकदेखि जीएमआरको चेपुवामा परेको आठबीस नगपालिका–१ का पूर्ववडाध्यक्ष प्रभासिंह विकले बताए । ‘नबनाउने भए आयोजना छाडेको भए हुन्थ्यो, न निर्माण सुरु हुन्छ, न लगानी नै जुटाउन सक्छ,’ उनले भने, ‘स्थानीयले न मुआब्जा पाएका छन्, न आफ्नो जमिन उपभोग गर्न ।’ मन्त्रिपरिषद्ले तेस्रोपल्ट ०७९ असार ३१ गते आयोजनाको म्याद २ वर्ष थपेको थियो । यसअघि ०७३ पुस २४ र ०७४ कात्तिक २४ मा पनि आयोजनाको म्याद थपिएको थियो ।
सन् २००६ मा विश्वव्यापी प्रतिस्पर्धाबाट जीएमआरले माथिल्लो कर्णाली निर्माणको अनुमति पाएको थियो । ०७१ असोज ३ मा परियोजना विकास सम्झौता (पीडीए) गरेको थियो । जीएमआरले पटकपटक म्याद थप गराउँदै आयोजनाको जमिन र स्वामित्व मात्र होल्ड गरिरहेको माथिल्लो कर्णाली बचाऔं अभियानका संयोजक कमल शाहीले गुनासो गरे । ‘यो परियोजना त भारतलाई उपहार दिएको जस्तो मात्रै भयो, वर्षमा २/३ महिना काम हुन्छ, बन्छ कि भन्ने आस लाग्छ, फेरि काम रोकिन्छ,’ उनले भने, ‘म्याद मात्र थप गरिरहँदा गाउँमा अरू विकासको गति पनि अवरुद्ध भएको छ, आयोजनाले हामीलाई पटकपटक निराश बनाएको छ, आधारभूत काम पनि अपूरा रहेकाले योपल्ट पनि थपिएको मितिमा आयोजना बन्दै बन्दैन ।’ जीएमआरको म्याद थपिरहनुभन्दा नेपाल सरकार आफैंले निर्माणको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।
आयोजनाबाट ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाका लागि झन्डै एक खर्ब १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । त्यसमा सरकारले २७ प्रतिशत सेयर पुँजी निःशुल्क पाउने र १२ प्रतिशत अर्थात् १०८ मेगावाट विद्युत् पनि निःशुल्क पाउने गरी सम्झौता भएको छ । जीएमआरले अहिलेसम्म आयोजनामा झन्डै ३ सय करोड रुपैयाँ खर्च गरिसकेको दाबी गरेको छ । यसबारे आयोजना प्रमुख केके शर्मासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

अर्थ वाणिज्य

लुम्बिनीमा थन्किएको विदेशी मुद्रा साटियो

नेपाल राष्ट्र बैंकको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेका २० राष्ट्रका मुद्रा सिंगापुरस्थित सीआईएमबी बैंकबाट पहिलो पटक सटही
- माधव ढुंगाना
लुम्बिनीस्थित मायादेवी मन्दिर र अशोक स्तम्भमा संकलित दानभेटी गणना गरिँदै ।
तस्बिर: मनोज पौडेल/कान्तिपुर

(भैरहवा)
वर्षौंदेखि सटही हुन नसकेर उपयोगविहीन बनेका विदेशी मुद्राको सटही प्रक्रिया सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा श्रद्धालुले दानस्वरूप चढाएको भेटी साट्न सुरु गरिएको हो । नेपाल राष्ट्र बैंकको परिवर्त्य (सटही) विदेशी मुद्राको सूचीमा नपरेका देशमध्ये २० राष्ट्रका मुद्रा सिंगापुरस्थित सीआईएमबी बैंकबाट पहिलो पटक सटही भएको हो । सटही प्रक्रियाको यो सुरुवातसँगै लुम्बिनीमा जम्मा हुने यस खालको मुद्राको व्यवस्थापनका लागि बाटो पनि खुलेको छ । श्रीलंकन, बंगलादेश, मउरिटन, एनजेडडी, ब्राजिलियन, जोर्डन, रुबल, स्विडिस क्रोन, मेकानिज पटका र ब्रुनाई डलर साटिएका हुन् ।
मुद्रा सटहीका लागि लुम्बिनी विकास कोषले गत चैत २२ मा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखासँग सम्झौता गरी चैत २७ मा २० राष्ट्रका मुद्रा उपलब्ध गराएको थियो । नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर प्रादेशिक कार्यालयमार्फत सिंगापुर पुर्‍याइएका ती मुद्राको सटहीबाट कोषले ५४ लाख २९ हजार ७ सय ७१ रुपैयाँ प्राप्त गरेको छ ।
‘नेपालमा सटही हुन नसक्ने २० मुलुकका मुद्रा पहिलो पटक सटही हुनुले लुम्बिनीमा दानस्वरूप प्राप्त हुने त्यस्तो मुद्राको सटही प्रक्रियाको बाटो खुलेको छ,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले भने, ‘त्यस्तो मुद्रा सटही प्रक्रियाबाट लुम्बिनीप्रतिको धारणा थप सकारात्मक बन्नेछ ।’
विदेशी श्रद्धालुले चढाएको त्यस्तो मुद्राको उचित व्यवस्थापन गर्न नसक्दा लुम्बिनी विकास कोष चौतर्फी आलोचित हुँदै आएको थियो । त्यस्तो मुद्रा उपयोगविहीन भई कागजको खोस्टोसरह हुने गरेको भट्टराईले बताए । सटही हुनुअघि १९ करोडभन्दा धेरै यस्तो विदेशी मुद्रा कागजको खोस्टोसरह बनेर सड्न थालेपछि व्यवस्थापन गर्न लुम्बिनी विकास कोषलाई टाउको दुखाइको विषय बनेको थियो । सटहीका लागि कोषले नेपाल राष्ट्र बैंकलगायत विभिन्न निकायमा सात/आठ वर्षदेखि पत्राचार गर्दै आए पनि टुंगो लाग्न सकेको थिएन । सिंगापुरको सीआईएमबी बैंकले २० राष्ट्रका नोट सटही गर्न तयार भएको जनाएपछि सोहीअनुरूप सटहीका लागि मुद्रा पठाइएको नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले जनाए । ‘पठाइएको ९० प्रतिशत नोट सटही भएको छ,’ पाण्डेले भने, ‘सटही हुन बाँकी १० प्रतिशतमध्ये पनि केही थप आउने सम्भावना छ ।’ च्यातिएको, केरमेट गरिएको, धुजाधुजा भएको, धेरै पुरानो, चलनचल्तीमा नआएको, अबिर वा रंग लतपतिएको नोट भने सटहीका लागि उक्त बैंक तयार नरहेको उनले बताए ।
कोषले २०७२ सालदेखि त्यस्ता मुद्राको विवरणका साथ सटहीका लागि पहल गरेको थियो । त्यसअघि सटही नहुने विदेशी मुद्रा कपडामा पोको पारेर थन्क्याइएको थियो । नेपाल राष्ट्र बैंकबाट सटही नहुने अझै ८० वटा मुलुकका मुद्रा कोषसँग रहेको कोषको लेखा शाखाका कर्मचारी विकास लामाले बताए । ‘सिंगापुरको बैंकले २० राष्ट्रका मुद्रा मात्रै सटही गर्न तयार भएको छ,’ लामाले भने, ‘कतिपय नाम नै नसुनिएका मुलुकका पनि मुद्रा छन् । तर ती न्यून परिमाणमा छन् ।’ लाओस, भुटान, मंगोलिया, अफगानिस्तान, इरान, इराक, पोल्यान्ड, तान्जिनिया, सोमालिया, कोलम्बिया, इटाली, यमन, सिरिया, रोमानिया, लेवनान, युगान, चिली, पेरुलगायत मुलुकका छन् । लाओसको ३१ लाख र मंगोलियाको ९५ हजार रुपैयाँ बराबर विदेशी मुद्रा छ ।
नेपाल राष्ट्र बैंकसँग थप मुद्राको सटहीका लागि कुराकानी भइरहेको लुम्बिनी विकास कोषकाका कोषाध्यक्ष भट्टराईले बताए । कोषको अब बन्ने भवनमध्ये एउटामा लुम्बिनी आउने पर्यटक र शोधकर्ताका लागि उपयोगी हुने गरी ती मुद्राको संग्रहालय बनाउने कि भन्नेबारे पनि कुराकानी भइरहेको उनले जनाए । ‘लुम्बिनीमा चढाइएका ती मुद्राबाट १ सय १ राष्ट्रबाट लुम्बिनी आएका रहेछन् भन्ने प्रस्ट भयो,’ उनले भने, ‘तीमध्ये केही मुद्रा लुम्बिनीमा संग्रहालय बनाएर राखियो भने अनुसन्धाता आदिलाई सजिलो हुन्छ ।’

अर्थ वाणिज्य

‘पार्टी प्यालेस पनि अर्थतन्त्रको सहयोगी’

- कान्तिपुर संवाददाता

(काठमाडौं)
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसयाले नेपालको अर्थतन्त्रलाई चलायनमान बनाउन सहयोग गरेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । यो व्यवसाय देशभर फैलिएसँगै नेपाली कृषि उत्पादनको खपत राम्रो भइरहेको उनको भनाइ छ । ‘यसले धेरैलाई रोजगारी दिएको छ, यो खुसीको कुरा हो,’ उनले भने, ‘स्थानीय कृषिजन्य उत्पादनको खपत पनि बढाएर बजार सिर्जना गर्ने काम गरेको छ ।’ इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपालको दसौं साधारणसभा तथा छैटौं अधिवेशन उद्घाटनका क्रममा शनिबार मन्त्री महतले यो व्यवसाय सञ्चालन गर्नेहरूले गुणस्तरमा भने ध्यान दिनुपर्नेमा जोड दिए ।
‘पहिला पहिला कार्यक्रम गर्ने हल पाउन ठूलै कसरत गर्नुपर्थ्यो, काठमाडौंमा न्यून संख्यामा मात्र कार्यक्रम गर्ने हल थिए, क्याटरिङ गर्ने ठाउँ नै थिएन,’ उनले भने, ‘अहिले देशैभर पार्टी प्यालेस खुलेका छन्, त्यसमा पनि टोलटोलमा खुलेका पार्टी प्यालेसले विवाह व्रतबन्धदेखि ठूला कार्यक्रम गर्न सजिलो भएको छ ।’ व्यवसायलाई व्यवस्थित गर्न नीतिगत र कानुनी रूपमा सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको उनले बताए । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउन लागेको छ । त्यसमा ब्याजदर घटाउने नीतिगत व्यवस्था गर्न भनिएकाले व्यवसायीलाई राहत हुने उनको दाबी छ । सरकारले पार्टी प्यालेस एवं क्याटरिङ व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिर्वतन गर्नुपर्ने इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपालका उपाध्यक्ष शिवभक्त रञ्जितले बताए । ‘मुलुकको अर्थतन्त्रलाई यस क्षेत्रले विशेष योगदान पुर्‍याएको छ, निजी क्षेत्रको कुल लगानीमध्ये ५ प्रतिशत हाराहारी यो क्षेत्रको लगानी छ,’ उनले भने, ‘त्यसैले यो क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ ।’
अहिले काठमाडौंमा मात्र २ सय पार्टी प्यालेस र ४५ क्याटरिङ सञ्चालनमा छन् । सरकारले व्यवसायी प्रोत्साहन गर्ने खालको नीति नियम ल्याउनुपर्ने इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपालका अध्यक्ष अनिल शर्माले बताए । देशभर ७ हजार बढी पार्टी प्यालेस तथा क्याटरिङ सञ्चालनमा छन् । १६ अर्ब रुपैयाँ लगानी र वार्षिक ३ अर्बभन्दा बढीको कारोबार हुने व्यवसायबाट ५० हजारभन्दा बढीले रोजगारी पाएको राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले जनाएको छ ।

Page 12
खेलकुद

दुवैतर्फ पुलिसको जित

राष्ट्रिय लिग भलिबलको पहिलो दिन विभागीय टोलीहरूको वर्चस्व
- कान्तिपुर संवाददाता

(काठमाडौं)
नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको पहिलो दिन दुवैतर्फ सफलता पाएको छ ।
महिलातर्फ पुलिसले गण्डकी प्रदेश भलिबल क्लबलाई पन्छाएको थियो । पुरुषतर्फ पुलिसले संघर्षपूर्ण खेलमा गण्डकीविरुद्ध नै ३–२ को सेटमा जित निकालेको थियो । यद्यपि दुई सेट गुमाएकाले पुरुषतर्फ पुलिसले एक अंक विपक्षीलाई सुम्पेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगितामा महिलातर्फ पुलिसले २५–१०, २५–१०, २५–११ को सोझो सेटमा जित निकाल्दै पूरा ३ अंक जोडेको छ ।
पुरुषतर्फ विदेशी खेलाडीसहित उत्रिएको गण्डकीविरुद्ध पुलिसले पहिलो र दोस्रो सेट २५–२१, २५–१६ ले आफ्नो पक्षमा पार्दै सफल सुरुआत गरेको थियो । तर तेस्रो सेट १३–२५ ले गुमायो । चौथो सेटमा ६ अंकको अग्रता लिँदै जित नजिक पुगेको पुलिसले २४–२६ ले सेट गुमाएपछि खेल २–२ को बराबरीमा पुगेको थियो । अन्तिम तथा निर्णायक सेटमा सम्हालिँदै पुलिसले १५–१० ले आफ्नो पक्षमा पारेर खेल जितेको थियो । पुलिसले सेट गुमाएकाले २ अंक पायो ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले शैलुङ्ग बाघढुंगा स्पोर्ट्स क्लबलाई २५–८, २५–१३, २५–१७ को सेटमा हराएर महत्त्वपूर्ण ३ अंक बटुलेको छ ।
विभागीय टोली एपीएफ क्लबले पनि पहिलो दिन सहज जित पाएको छ । एपीएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले हरायो ।
लिगका विजेता टिमले डिसेम्बरमा नेपालमा आयोजना हुने काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । समान ६ लाख रुपैयाँ पुरस्कार पनि जित्नेछन् ।
दोस्रोदेखि चौथो स्थानसम्मका टिमले क्रमशः ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले जनही ३५ हजार, विधागत उत्कृष्टमा सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
जारी लिगमा माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ ७ र महिलातर्फ ६ टिमले भाग लिएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवालाई बल हस्तान्तरण गर्दै लिगको उद्घाटन गरे ।

खेलकुद

सन्दीपा र शिशिरलाई कांस्य पदक

काठमाडौं (कास)– सन्दीपा अमगाईं र शिशिर श्रेष्ठले डब्लूटी प्रेसिडेन्ट कप ओसिनिया जीटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । अस्ट्रेलियाको क्विन्सल्यान्डमा भएको च्याम्पियनसिपको ३० वर्षमुनि पेयर पुम्सेमा सन्दीपा र शिशिरले कांस्य जितेका हुन् । यो स्पर्धामा चाइनिज ताइपेइले स्वर्ण र अस्ट्रेलियाले रजत पदक जितेको थियो ।
च्याम्पियनसिपमा नेपालकै सागर गुभाजु र पारस भण्डारीले पनि प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय टोलीका सदस्य रहिसकेका सागरले ग्यारोगीको ८० केजीमुनि र पारसले ६८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

खेलकुद

एसियाली एथलेटिक्समा सात खेलाडी

छोटकरी

काठमाडौं (कास)– थाइल्यान्डको पतायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जुलाई १० देखि १७ सम्म हुने प्रतियोगितामा दीपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५ सय र ५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा शिवराज पार्की र आयुष कुँवरले १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा राजपुरा पछाईंले ५ हजार मिटर दौड र फुलमति रानाले ८ सय र १५०० मिटर दौडमा भाग लिनेछन् । मुकेश, शिव र आयुषबाहेक सबै खेलाडी चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट खेलाडी हुन् । प्रशिक्षकमा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ र अफिसियलमा जितेन्द्र चौधरी छन् ।

खेलकुद

स्वर्णधारी सम्मानित

छोटकरी

काठमाडौं (कास)– मानसिंह डोजोले १५ औं कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जितेका आफ्ना खेलाडीलाई सम्मान गरेको छ । रेगन घले र सुचित्रा गुरुङ सम्मानित भए । दक्षिण कोरियाको बुसानमा जुलाई १ देखि २ सम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १०–११ वर्षमा रेगन र महिला ८–९ वर्षको एकल काता र कुमुतेमा सुचित्राले स्वर्ण पदक जितेका थिए । कोरिया ओपनमा टोलीको नेतृत्व गरेका मानसिंह डोजोका प्रमुख महेश महर्जन पनि सम्मानित भए । युएस ओपन कराते च्याम्पियनसिपको एकल कातामा स्वर्ण जितेका सुमन तिमिल्सिनालाई पनि सम्मान गरियो ।

खेलकुद

मोर्डन पेन्टाथलनमा नयाँ नेतृत्व

छोटकरी

काठमाडौं (कास)– नेपाल मोर्डन पेन्टाथलन संघको साधारणसभा तथा निर्वाचनले राजु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षहरूमा इन्दिरा निरौला, शकुन्तला नगरकोटी, भगवती विष्ट, गोपाल न्यौपाने, राजु दर्शन र नारायणप्रसाद पौडेल, महासचिवमा यादवबहादुर बस्नेत, उप–महासचिवमा रितेश श्रेष्ठ, सचिवमा यदुकुमार बस्नेत र रचना लाखेमरु तथा कोषाध्यक्षमा शैलेन्द्रमान श्रेष्ठ चुनिए । सुन्दर प्रजापति, ज्ञानेन्द्र श्रेष्ठ, ऋषिराज लहरे र रविकिरण खड्का सदस्यमा निर्वाचित भए । उद्घाटनमा विभिन्न समयमा भएका अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलनका पदक विजेतालाई सम्मान गरिएको थियो ।