You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

डाक्टरी पढाउँदै स्थानीय सरकार

सुर्खेतको लेकबेंसी नगरपालिका–१ का नेत्रप्रसाद पौडेललाई एउटै चिन्ताले छोपिराख्थ्यो– डाक्टर बन्ने सपना हुर्काइरहेको छोराका लागि कसरी त्यतिका ठूलो खर्च बेहोर्न सकुँला । पढाइमा अब्बल छोराको सपना पूरा गर्न भएभरको जमिन बेच्न तयार भइरहेका बेला गाउँपालिकाले एमबीबीएस पढाउन छात्रवृत्ति दिने सूचना निकाल्यो । अनि त नेत्रले नसोचेको कुरा भयो ।
छोरा नितेश नगरपालिकाको खर्चमा काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा एमबीबीएस अध्ययन गरिरहेका छन् । उनलाई एमबीबीएस पढाउँदा लाग्ने खर्च नगरपालिकाले बेहोर्नेछ भने त्यसबापत उनले उत्तीर्ण भएपछि ५ वर्ष पालिकाभित्र काम गर्नुपर्ने सम्झौता छ । ‘स्थानीय सरकारकै बजेटमा पढिरहेको छोराले पढाइ सकेपछि गाउँकै सेवा गर्नेछ,’ नेत्र भन्छन्, ‘योभन्दा खुसीको कुरा हाम्रा लागि के नै हुन सक्छ र !’
कर्णालीका अस्पताल र स्वास्थ्य संस्थाहरूमा डाक्टर आउनै नमान्ने समस्या हल गर्न स्थानीय सरकारले विद्यार्थीलाई छात्रवृत्तिमा डाक्टर पढाउन सुरु गरेका हुन् । केही पालिकाले पूर्ण शुल्क तिरेर डाक्टर पढाइरहेका छन् भने केहीले आंशिक शुल्क बेहोरिरहेका छन् । यस्तो अभ्यासले गाउँघरमै सिंहदरबारको प्रत्याभूति मात्रै गराइरहेको छैन, भविष्यका निम्ति स्थानीय तहको स्वास्थ्य सेवा बलियो बन्ने सम्भावना पनि सुरु भएको छ ।
जाजरकोटको कुशे गाउँपालिका–४ की जोत्सिला कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्दै छिन् । जोत्सिलाका परिवारले चाहेर मात्रै उनी एमबीबीएस पढ्न पाएकी होइनन् । गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएपछि उनको पढ्ने ढोका खुलेको हो । उनको पढाइमा गाउँपालिकाले ५० प्रतिशत, कलेजले २५ प्रतिशत र बाँकी खर्च परिवारले बेहोरिरहेको छ । ३ वर्षअघिबाट एमबीबीएस पढिरहेकी उनका लागि पालिकाले अहिलेसम्म १७ लाख तिरिसकेको छ । २५ हजार पालिकावासीले गाउँका डाक्टरबाट सेवा पाऊन् भन्ने सोचेर यस्तो काम थालिएको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
‘उनलाई पढाउन ४० लाख शुल्क तिर्ने सहमति भएको छ,’ बस्नेतले भने, ‘पढिसकेपछि पालिकाभित्र ४ वर्ष अनिवार्य सेवा गर्नुपर्ने सहमतिमा यो काम सुरु गरिएको हो ।’ विकट जिल्ला भएकाले डाक्टरहरू सकभर जिल्लामा आउनै नमान्ने र आइहाले पनि एकाध महिनामै सरुवा भएर जाने भएकाले आफूहरूले स्थानीयलाई डाक्टर बनाउने योजना सुरु गरेको उनले बताए । ‘अहिलेसम्म जिल्ला अस्पतालमै डाक्टर बस्न मान्दैनन्, पालिकामा बस्न डाक्टर आउने कुरै भएन,’ अध्यक्ष बस्नेतले भने, ‘अब आफ्नै पालिकामा आफ्नै गाउँका डाक्टरले बिरामीको उपचार गर्छन् । उनका अनुसार गाउँमा कोही बिरामी भयो र कसैको पोस्टमार्टम गर्नुपर्‍यो भने जिल्ला अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ ।
जाजरकोटकै बारेकोट गाउँपालिकाले २ जनालाई एमबीबीएस पढाएको छ । दीपक ज्योतिले भर्खरै पढाइसकेका छन् भने रूपक ज्योति भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तिम वर्षमा पढिरहेका छन् ।

‘पालिकाले पढाएका डाक्टरहरूले अब पालिकामै सेवा दिनेछन्,’ अध्यक्ष वीरबहादुर गिरीले भने, ‘जिल्ला बाहिरका डाक्टरहरू जाजरकोटमा आउन नचाहने भएकाले आफैं डाक्टर पढाइरहेका हौं ।’ आर्थिक अवस्थाका कारण कुनै पनि विद्यार्थीले कुनै तह पूरा गर्न नसकेमा सम्पूर्ण खर्च पालिकाले बेहोर्ने गरी आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरिएको उनले बताए । जसका लागि झन्डै २० लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा डाक्टर, इन्जिनियर र कानुन पढ्ने विद्यार्थीलाई प्राथमिकता दिइनेछ ।
पालिकाको खर्चमा एमबीबीएस उत्तीर्ण गरेका दीपकले स्थानीय तहले आफ्नो जीवनमा लगाएको गुन कहिल्यै बिर्सन नसकिने बताए । ‘अब मेडिकल काउन्सिलबाट लाइसेन्स लिएर गाउँमै बिरामीको उपचार गर्न जाने योजनामा छु,’ उनले भने, ‘मजस्ता पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सपना पूरा गर्न पालिकाले ठूलो राहत दिएको छ, बल्ल गाउँमा सिंहदरबार आएको अनुभूति भएको छ ।’ उनले गाउँमा रकम अभावकै कारण वर्षौंदेखि रोग लुकाएर बस्नेहरूको संख्या ठूलो रहेको र कैयौं स्थानीयले उपचार अभावमा स–साना रोगबाट ज्यान गुमाउनु परिरहेको बताए ।
जुम्लाको पातारासी गाउँपालिकाका नवीन रेउले पनि पालिकाको खर्चमा रूपन्देही मेडिकल कलेजमा एमबीबीएस पढिरहेका छन् । एमबीबीएसको पूरै पढाइ सक्दा लाग्ने ३५ लाख पालिकाले बेहोर्ने गरी उनीसँग सम्झौता भएको छ । जुम्लाकै तातोपानी गाउँपालिकाले पनि पालिकाका एक विद्यार्थीलाई डाक्टर पढाउने नीति तथा कार्यक्रम र बजेट यो वर्ष पारित गरेको छ । आगामी आर्थिक वर्षबाट बर्सेनि एक जनालाई डाक्टर पढाइने प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । ‘एक त पालिकाभित्र राम्रो पढाइ भएका विद्यार्थीले आर्थिक अवस्था कमजोर भएकै कारण डाक्टर पढ्नबाट वञ्चित हुनुपरेन,’ उनले भने, ‘अर्को कुरा पालिकाकै डाक्टर भयो भने पालिकाभित्रका नागरिकले गुणस्तरीय र भरपर्दो सेवा पाउनेछन् ।’
लुम्बिनी प्रदेशका केही स्थानीय तहले पनि यस्तो अभ्यास गरिरहेका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाले आफ्नै खर्चमा चिकित्साशास्त्र पढाउन एक विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिसकेको छ । गाउँपालिकाको निर्माणाधीन अस्पतालमा चिकित्सक अभाव हुन नदिन यसो गरिएको गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले बताए । हरेक वर्ष कम्तीमा ५ लाख रुपैयाँ दिने गरी विद्यार्थी पढाउने र पढाइसकेपछि गाउँ फर्केर सेवा गर्नुपर्ने पालिकाको सर्त छ । पालिकाले यो वर्ष राङ्सी गाउँकी चन्द्रा घर्तीमगरलाई पढाउने गरी छनोट गरिसकेको छ । उनी विराटनगरस्थिन नोबल कलेजबाट एमबीबीएस पढ्ने तयारीमा छिन् । अध्यक्ष बुढामगरले भने, ‘गाउँमा चिकित्सक ल्याउन मुस्किल हुने र लामो समय नबस्ने समस्या देखिएकाले यस्तो काम थालिएको हो ।’ सानैदेखि एमबीबीएस पढ्ने चाहना भएकी चन्द्राले गाउँपालिकाले खर्च बेहोर्ने निर्णय गरेको सुन्दा निकै खुसी लागेको बताइन् । ‘मैले निकै दुःख गरेर पढेकी हुँ । गाउँपालिकाले पढ्ने खर्च दिने भएपछि खुसीको सीमा नै छैन,’ उनले भनिन् ।
रोल्पा नगरपालिकाले पनि कम्तीमा एक चिकित्सकलाई नगरकै खर्चमा पढाउने निर्णय गरेको छ । नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले नगरभित्र रहेको जिल्ला अस्पतालमा नियमित रूपमा चिकित्सक बस्ने बलियो आधार निर्माणका लागि यस्तो नीति ल्याउनुपरेको बताए । ‘जिल्ला अस्पतालमा नियमित चिकित्सक बस्न नसक्ने खबरले दुःखी तुल्याएको छ,’ उनले भने, ‘त्यसैले नगरले नै चिकित्सक पढाउन सकेमा उनीहरूबाट जनसेवामा निरन्तरता हुने विश्वासले यस्तो निर्णय गरेका हौं ।’ त्यसका लागि नगरले कम्तीमा ५० लाख बजेट छुट्याएको उनले बताए ।
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको आदर्श गाउँपालिकाले पनि एमबीबीएस अध्ययनरत २ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनही ६० हजारका दरले स्थानीय शिवानी सिंह र दिनेश ओडलाई एमबीबीएस अध्ययन छात्रवृत्ति
दिएको गाउँपालिका अध्यक्ष गणेश खड्काले बताए ।
बझाङको दुर्गाथली गाउँपालिकाले ०७९/८० देखि अध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत स्थानीय विद्यार्थीलाई एमबीबीएस छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले गाउँपालिकाकै सामुदायिक विद्यालयमा पढेको हुनुपर्ने, दलित, जेहेनदार, सहिद परिवार तथा महिलालाई विशेष प्राथमिकता दिने गरी वार्षिक ५ लाखका दरले २० लाख दिने निर्णय भएको सुनाए ।
डडेलधुराका अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले पनि हरेक वर्ष एक जना जेहेनदार र गरिब विद्यार्थीलाई एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेका छन् । भागेश्वर गाउँपालिका प्रमुख हेमराज चटौतले कुन प्रक्रियाबाट छात्रवृत्ति दिने, छनोट कसरी गर्ने भन्ने निर्णय भएपछि बजेट छुट्याइने बताए । अमरगढी नगर प्रमुख डिल्लीराज जोशीले हरेक वर्ष एक जनालाई छात्रवृत्ति दिने निर्णय भएको तर अझै बजेट विनियोजन नभइसकेको बताए । यी तीनै स्थानीय तहको निर्णय कार्यान्वयनमा गएको चार वर्षमा १२ जनाले चिकित्सा शिक्षा अध्ययनको मौका पाउनेछन् ।


कुन पालिकाले कतिलाई पढाउँदै छन् ?
-डोटी
आदर्श गाउापालिका– २
-जुम्ला
पातारासी गाउापालिका– १
-रोल्पा
परिवर्तन गाउापालिका– १
रोल्पा नगरपालिका– १
-बझाङ
दुर्गाथली गाउापालिका– १
-जाजरकोट
बारेकोट गाउापालिका– २
कुशे गाउापालिका– १
-डडेलधुरा
अमरगढी नगरपालिका– १
भागेश्वर गाउापालिका– १
अजयमेरु गाउापालिका– १
-सुर्खेत
लेकबेंसी नगरपालिका– १

तृप्ति शाही (वीरेन्द्रनगर), काशीराम डाँगी (रोल्पा) र चित्रांग थापा (धनगढी)

मुख्य पृष्ठ

अमेरिकी मन्त्री लुको जोड एमसीसी कार्यान्वयन

(काठमाडौं)
दक्षिण र मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एकदिने नेपाल भ्रमण क्रममा शुक्रबार गरिएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई कार्यान्वयन गर्न जोड दिएका छन् । लुले सत्तारूढ कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटवार्तामा नेपालको ऊर्जा तथा पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको एमसीसी कार्यान्वयनको विषय उठाएका हुन् ।
पत्नीशोकमा परेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भने मन्त्री लुले राजनीतिक र एमसीसीबारे कुरा गरेनन् । आफू, राष्ट्रपति जो बाइडेन र अमेरिकी जनताका तर्फबाट समवेदना प्रकट गरे । जवाफमा दाहालले दुई मुलुकबीच लामो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै संवेदनशील घडीमा समवेदना दिन आएकामा लु, अमेरिकी राष्ट्रपति र जनतालाई धन्यवाद दिएको बैठकमा सहभागी प्रधानमन्त्रीका स्वकीय रमेश मल्लले जानकारी दिए ।
एमसीसी संसद्बाट अनुमोदनअघि लु २०७८ मंसिरमा नेपाल आएका थिए । सोही वर्षको फागुन १५ मा एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको थियो । २०७८ माघ २७ मा लुले तत्कालीन प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग एमसीसी अनुमोदनलाई लिएर टेलिफोन संवाद गरेका थिए । नेपालमा एमसीसी अनुमोदन भएर आगामी भदौ दोस्रो साताबाट कार्यान्वयनमा जानेछ भने सम्झौता कार्यान्वयन अवधि ५ वर्षको हुनेछ । लुको भ्रमण यही विषयमा केन्द्रित देखिन्छ ।
लुले कांग्रेस सभापति देउवासँग धुम्बाराहीमा गरेको भेटवार्तामा एमसीसी सम्झौता कार्यान्वनदेखि नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । देउवाको सचिवालयका अनुसार भेटमा नेपाल–अमेरिका सम्बन्ध, लोकतन्त्र र मानव अधिकारको विषयमा पनि कुराकानी भएको थियो । एमाले अध्यक्ष ओलीसँग पार्टी कार्यालयमा भएको भेटवार्तामा मन्त्री लुले एमसीसी परियोजना कार्यान्वयन हुँदै गरेकामा धन्यवाद व्यक्त गरे ।

लुले परियोजना कार्यान्वयनमा जान लागेको जानकारी पनि ओलीलाई गराएका थिए । ‘लु शिष्टाचार भेटका लागि आउनुभएको थियो । उहाँले एमसीसी परियोजना कार्यान्वयनमा जान लागेको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गर्नुभयो । हाम्रोतर्फबाट पनि धन्यवाद व्यक्त गरियो,’ बैठकमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने ।
लुले परराष्ट्रमन्त्री एनपी साउदसँग लामो कुराकानी गरेका छन् । उनीहरूबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो । मन्त्री साउदसँग लुले एमसीसी कार्यान्वयनबारे चासो राखेको स्रोतले बतायो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार लुले सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति हुने र त्यसपछि पनि अमेरिकी सहयोगको निरन्तरता र बढोत्तरीको वाचा गरे ।
भेटमा मन्त्री साउदले नियमित सहयोग र कोभिड–१९ को संकटमा प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए । लुको भ्रमणलाई लिएर काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची–एलेनले पाँच वर्षभित्र अत्यावश्यक विद्युतीय पूर्वाधार उपलब्ध गराउने, सडक मर्मतसम्भारको क्षमतामा सुधार गर्ने र हजारौं रोजगारी सिर्जना गर्ने बताइन् ।
परराष्ट्रमन्त्री साउद, ओली र देउवासँग लुले लोकतन्त्रका लागि शिखर सम्मेलनमा नेपालले हासिल गरेका उपलब्धि, मानवअधिकार संरक्षणको पछिल्लो समय सुदृढीकरण र आगामी अगस्टमा कार्यान्वयन सुरु हुने एमसीसी कम्प्याक्टको हालसम्मको प्रगतिका बारेमा छलफल गरेको उनले कान्तिपुरलाई बताइन् । कूटनीतिक संलग्नताहरू सुरक्षित, समृद्ध र प्रजातान्त्रिक मूल्यमान्यतालाई अगाडि बढाउन अमेरिका–नेपाल र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने नियमित हिस्सा रहेको बताइन् ।

मुख्य पृष्ठ

‘बीआरआईमार्फत नेपालको समृद्धि’

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता तु स्याउलिनले नेपाल र चीन सँगसँगै मिलेर विकास गर्नुपर्ने बताएका छन् । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालद्वारा शुक्रबार आयोजित सेमिनारमा ‘चिनियाँ विकास मोडल’ बारे विचार प्रस्तुत गर्दै सीपीसी विदेश विभागका काउन्सिलर तुले दुई मुलुकबीचको मित्रता लामो समयदेखि रहिआएको उल्लेख गरे । नेपालमा सन् २०१५ मा आएको भूकम्प र त्यसपछिको पुनर्निर्माणमा नेपाललाई चीनले सहयोग गरेको पनि उनले स्मरण गराए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपालको ऐतिहासिक भ्रमणका बेला धेरै सहयोगको घोषणा भएको उल्लेख गर्दै उनले त्यसपछि सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । सीले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सँगै समृृद्धि हासिल गर्ने उल्लेख गरे । क्लबका महासचिव कल्याणराज शर्माले चीनले गरेको चामत्कारिक विकासबाट नेपालले कसरी फाइदा लिनेतर्फ ध्यान दिनुपर्ने भनाइ राखे ।

‘४० वर्षमा विश्वका धेरै देश कहाँबाट कहाँ पुगे । नेपाल अझै त्यही अवस्थामा छ,’ उनले भने, ‘नेपालले अबको एक दशकमा विकास गर्नुपर्छ, नत्र ढिलो हुन्छ । नेपालमा राजनीतिक अस्थिरताले गर्दा पनि समस्या भएको उनको भनाइ छ ।
काठमाडौं विश्वविद्यालयअन्तर्गत ग्लोबल इन्गेजमेन्ट डिभिजनका कार्यवाहक निर्देशक उद्धव प्याकुरेलले चीनले पछिल्लो समय गरेको विकासलाई लिएर विश्व बैंक र यूएनडीपी जस्ता संस्थाले समेत प्रशंसा गरेको बताए । गरिबी हटाउने कि गरिब भन्ने उदाहरण प्रस्तुत गर्दै उनले चीनले गरिबी हटाउने मोडल अपनाएको प्रस्ट पारे । नेपाल–चीन सोसल रिलेसन एकेडेमीका अध्यक्ष प्राध्यापक बालमुकुन्द रेग्मीले चीनले कसरी निजी क्षेत्रलाई प्राथमिकताका साथ प्रोत्साहन गरेर आर्थिक समृद्धिको ढोका खोल्यो भनेर चर्चा गरे । माओवादी नेता लीलामणि पोखरेलले अहिलेको चीनको विशेषता समृद्धि हासिल गर्ने रहेको बताए ।
चीनबाट बुधबार आएका सीपीसी विदेश विभागको टोलीले बिहीबार भक्तपुरमा कार्यक्रम गरेको थियो । टोली शनिबार फर्कने कार्यक्रम छ ।

Page 2
म्यागेजिन

मणिपुर अशान्तिको अन्तर्य

- पर्वत पोर्तेल

(झापा)
भारतको उत्तरपूर्वी सुन्दर पहाडी राज्य मणिपुर दुई महिनादेखि अशान्त छ । मणिपुर उच्च अदालतले अप्रिल १९ मा रैथाने मणिपुरी (मैतेई) समुदायलाई अनुसूचित जाति (सेडुअल कास्ट) को दर्जाका लागि केन्द्रीय जनजाति मामिला मन्त्रालयमा सिफारिस गरेको थियो । लगत्तै मेको ३ बाट भड्किएको हिंसाले मणिपुर अशान्त भएको हो ।
रैथाने मणिपुरी र अल्पसंख्यक जनजाति कुकीबीचको द्वन्द्व बढेको बढेकै छ । मणिपुर सरकारले गत सोमबार सर्वोच्च अदालतमा बुझाएको प्रतिवेदनअनुसार हिंसामा १ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् । तर, विभिन्न सञ्चारमाध्यमहरूले भने हिंसाका क्रममा २ सय बढीको मृत्यु भएको दाबी गरेका छन् । ६० हजारभन्दा बढी विस्थापित भएका छन् । एक मन्त्रीसहित साढे ५ हजार घरधुरीमा आगजनी गरिएको छ । हिंसाको प्रत्यक्ष प्रभाव व्यहोरेका साढे ५४ हजारभन्दा बढीलाई सरकारले शिविरमा आश्रय दिएर राखेको छ ।
महिनाअघि केन्द्रीय गृहमन्त्री अमित शाह मणिपुर पुगेका थिए । उनले दुवै पक्षलाई हिंसा छाडेर वार्ता र संवादबाट समस्या सुल्झाउन आह्वान पनि गरे । तर, उनको आह्वानलाई न मणिपुरीले सुने, न कुकीले । अन्नतः दन्दनी बलिरहेको मणिपुर छाडेर उनले दिल्ली फर्किनुपर्‍यो ।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार उपत्यकाको पूर्व र पश्चिम इम्फाल, चुराचन्दपुर, कक्चिङ र विष्णुपुर तथा पहाडी जिल्लाहरूमा काङ्पोकपी, टेङ्नौपाल, थौबल, कमजोङ र चन्देलमा हिंसाको सबभन्दा बढी प्रभाव परेको छ । पहाडी क्षेत्रमा कुकीको बसोबास छ, उपत्यकामा मणिपुरीहरू बस्छन् । केन्द्र र राज्य सरकारहरूले स्थिति नियन्त्रणमा ल्याउन भरपूर प्रयास भइरहेको दाबी गरिरहेको छ । तर, अझैसम्म मणिपुरमा द्वन्द्व चर्किरहेकै छ । के मणिपुरमा ‘ल एन्ड अर्डर’ निष्प्रभावी भएको हो ? या केन्द्र सरकारले समस्या सुल्झाउन जाँगर नचलाएको हो ?

पहिला मित्र, अहिले सत्रु
२२ हजार ३ सय २७ वर्ग किलोमिटर क्षेत्रफल रहेको भारतको मणिपुर राज्यको जनसंख्या करिब ३४ लाख छ । मिश्रित समुदायको बसोबास रहे पनि मूलतः तीन जाति मैतेई, नागा र कुकीको बाहुल्य छ । तीन समुदायमध्ये मणिपुरीको जनसंख्या १५ लाख बढी छ । तीन समुदायबीच लामो समयदेखि द्वन्द्व विभिन्न रूपमा चल्दै आएको थियो । एक–अर्काको अस्तित्व स्विकार्न नचाहने समुदायबीचको द्वन्द्व यस पटक भने छताछुल्ल भएर पोखियो । इतिहासको पाना पल्टाउने हो भने मणिपुरी र कुकीबीच कुनै समय मित्रतापूर्ण सम्बन्ध थियो । मणिपुरमाथि अन्य समुदायबाट हुन सक्ने सम्भावित आक्रमणलाई निस्तेज पार्न कुकीहरू पहरेदार बनेर उभिएका थिए । तर, उनीहरूको सम्बन्ध अब इतिहासमा मात्रै सीमित भयो । अचेल उनीहरू एकअर्काको ज्यान लिन तल्लीन बन्न थालेका छन् ।
सन् १७६२ तिर फर्कियौं भने यी दुईबीचको सम्बन्ध बुझ्न थोरबहुत मद्दत पुग्छ । भारतमा भारत शासन रहँदा मणिपुर अलग देश थियो । मणिपुरमा मैतेई समुदायको वर्चस्व थियो । तर, यो समुदायले पश्चिमतिर नागा र उत्तरतिर बर्मेलीहरूबाट असुरक्षा महसुस गरिरहेको थियो । नागा र बर्मेलीले जतिसुकै बेला आक्रमण गरी राज्य हत्याउलान् कि π भन्ने ठूलो त्रासबीच मैतेईहरू थिए । आक्रमणको डर थियो । यो सम्भावित आक्रमणबाट बाँच्न मणिपुरका तत्कालीन राजा जयसिंहले ब्रिटिससँग एक सन्धि गरी देश बचाइदिन हारगुहार गरे । बर्मामा युद्ध लडिरहेको ब्रिटिस शासनले एउटा जुक्ति निकाल्यो । बर्माबाटै ल्याएको एउटा नयाँ समुदायलाई म्यानमार र मणिपुरको सीमावर्ती क्षेत्रमा बसाल्यो । त्यो अहिलेको आन्दोलनकारी कुकी समुदाय थियो । मणिपुरमाथि अन्य जातीय समुदायबाट हुन सक्ने सम्भावित आक्रमण रोक्न पहरेदारी गरेको कुकी अहिले ‘जानी दुश्मन’ बनेर उभिएको छ ।
सन् १८२६ मा पहिलो ब्रिटिस–बर्मा युद्ध समाप्त भयो । ब्रिटिसले युद्ध हत्याएपछि बर्मासँगै मणिपुरलाई पनि कब्जामा लियो । राजतन्त्र भए पनि अब राजाले निर्णय गर्न नपाउने भए, महत्त्वपूर्ण सबै निर्णयहरू ब्रिटिसले गर्न थाल्यो । सन् १८९१ पछि ब्रिटिसले ५ वर्षे बालकलाई राजगद्दीमा बसाएर मणिपुरमा शासन गर्न थाल्यो ।
सिंगो भारत, बर्मामा समेत शासन गरिरहेको ब्रिटिसका लागि केही वर्षपछि यो पहाडी राज्य ‘घाँडो’ बन्दै गयो । अन्ततः उसले मणिपुरलाई विभाजित गर्‍यो । कुकी र नागालाई मणिपुरको केन्द्रभन्दा टाढा अर्थात् पहाडी र जंगल क्षेत्रमा तथा रैथाने मैतेईलाई मणिपुरको केन्द्र अर्थात्
इम्फालमा बस्ने चाँजो मिलायो । पहिलो विश्वयुद्धताका ब्रिटिसले धेरैलाई भारतीयलाई सेनामा भर्ती गर्‍यो । मणिपुरी र नागाहरू सेनामा भर्ती भए । तर, ब्रिटिसले ल्याएर राखेका कुकीले
ब्रिटिसको प्रस्ताव इन्कार गर्‍यो । त्यसको बदलामा ब्रिटिसले भारतीय सेना मणिपुर पठाएर कुकीविरुद्ध आक्रमण नै गरायो । त्यसपछि कुकीहरू लडाकु बन्दै जंगल पसे । मैतेईहरूको जनघनत्व सहरी क्षेत्रमा बढ्दै गयो ।
१० प्रतिशत जमिन रहेको इम्फाल र आसपासमा ५३ प्रतिशत जनसंख्या रहेको मणिपुरीको बसोबास छ । ९० प्रतिशत जमिन रहेको क्षेत्रमा २८ प्रतिशत कुकी, नागाको बसोबास छ । भारतको भूमि व्यवस्था ऐनका अनुसार मैतेईहरूलाई नागा र कुकी बाहुल्य भूभागमा जमिन खरिद र बसोबास गर्न इजाजत छैन । नागा, कुकीलाई भने मैतेई बाहुल्य क्षेत्रमा जमिन किन्न र बस्न कुनै रोकतोक छैन ।
सन् १९४७ मा जब भारत स्वतन्त्र भयो । तब मणिपुरको भविष्यबारे व्यापक विमर्श भयो । त्यो विमर्श शान्तिपूर्ण नभएर अहिलेझै हिंसात्मक थियो । नागाले अलग देश माग माग्यो । कुकीले अलग देशै त हैन, राज्यचाहिँ अलग हुनुपर्ने अडान लियो । मणिपुरीका लागि पहिचान, भाषा र संस्कृतिको चुनौती रहेकाले संरक्षणको प्रस्ताव अघि सार्‍यो । तर, यी तीन जातिका फरक–फरक मागलाई स्वतन्त्रतापछिको जवाहरलाल नेहरू सरकारले इन्कार गर्‍यो । बरु मणिपुरलाई केन्द्र शासित प्रदेश (युनियन टेरेटोरी) बनाइयो । राष्ट्रपति शासनमार्फत मणिपुरको कन्ट्रोल २ हजार ५ किलोमिटर टाढाको दिल्लीले गर्‍यो । हिंसात्मक आन्दोलन चर्किन थालेपछि अहिले मणिपुरलाई विगतको झैं केन्द्र शासित प्रदेश बनाइनुपर्ने माग पनि चर्किन थालेको छ । तर, मणिपुरी–कुकीको सशस्त्र हिंसाले त्यो माग धूमिल बनेको छ । सन् १९७२ मा मात्रै मणिपुर राज्य बन्यो । राज्य निर्माणका क्रममा उत्तरपूर्वी भारतका अन्य राज्यलाई झैं मणिपुरलाई पनि उपेक्षा गरियो । मणिपुरको इतिहास र जनताको भविष्य दुवै नामेट पार्ने काममा केन्द्र सरकार अग्रसर बनेको आरोप त्यो बेला नै लगाइएको थियो । अर्थात् मणिपुर राज्य बन्दा मणिपुरी–कुकी दुवै बेखुसी थिए ।

जातीयसँगै धार्मिक हिंसा
मणिपुर हिंसा जातीयसँगै धार्मिक पनि हो । रैथाने मैतेई हिन्दु हुन् । कुकी र नागा इसाई । मुस्लिम समुदायको पनि मणिपुरमा सानो धार्मिक हिस्सेदारी छ । भारतले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मणिपुरमा हिन्दु र इसाईको जनसंख्या करिब हाराहारी छ । हिन्दु ४१.३९ र इसाई ४१.२९ प्रतिशत छन् । मुस्लिमको संख्या ८.४० प्रतिशत छ । सन् १८९४ मा मणिपुरमा पहिलो पटक क्रिस्चियन मिसनरी प्रवेश गरेको थियो । खासगरी मणिपुरका जनजाति बाहुल्य क्षेत्रमा प्रवेश गरी व्यापक धर्म प्रचारपछि सन् १९०१ मा इसाई धर्मावलम्बीको संख्या ८ प्रतिशत मात्रै थियो । यो यसरी बढ्दै गयो कि सन् १०९१ मा ३४ प्रतिशत पुग्यो, २०२१ मा यो दर बढेर ४५ र अहिले २०२३ मा ४१.२९ प्रतिशत पुगेको छ । धार्मिक द्वन्द्वका कारण यो सानो राज्यमा तीन समुदायबीच दिनदिनै दूरी बढ्दो छ । हिंसाको तारो चर्च र मन्दिरहरू नै छन् । जुन क्षेत्रमा हिन्दु बस्छन्, त्यहाँ इसाईलाई अवरोध छ, इसाईको क्षेत्रमा हिन्दुलाई ।

आरक्षणको अवस्था
सक्षम र सम्पन्न भएका कारण सरकारी सेवा र शिक्षामा मणिपुरीलाई आरक्षण छैन । नागा, कुकीहरूलाई चाहिँ छ । मणिपुरीहरू आक्रोश पोख्छन्, ‘हामी हिन्दु हौं । हामी यहाँका आदिवासी पनि हौं । तर, राज्यको सेवा र सुविधाबाट हामीलाई किन विभेद र वञ्चित ?’ मणिपुरी–कुकी द्वन्द्वको जरा राज्यशक्ति हो । भौगोलिक शक्ति कुकीसँग छ भने राजनीतिक शक्ति मणिपुरीसँग । कुकीहरूको आरोप छ, ‘राजनीतिक रूपमा शक्तिशाली समुदायलाई फेरि किन चाहियो जनजातिको दर्जा ?’ विधानसभाको ६० मध्ये ४० सिट मणिपुरीको कब्जामा छ । कुकीहरूको तर्क छ कि ‘अझै कति चाहियो मणिपुरीलाई
आरक्षण ?’ जनजातिको दर्जा पाए कुकी र
नागाहरू झैं थप अधिकार सम्पन्न हुने र राज्यका सबै क्षेत्रमा आरक्षणमार्फत एकाधिकार जमाउने दाउमा मणिपुरी छ ।
इसाई धर्मको बढ्दो प्रभावका कारण मणिपुरीहरू बढी सशंकित बन्दै गएका छन् । उनीहरू इसाई धर्मका कारण हिन्दु धर्म र संस्कृति बिस्तारै मासिँदै गएको प्रति उनीहरू धेरै चिन्तित देखिन्छन् । ब्रिटिसको ‘मिस मेनेजमेन्ट’ का कारण मणिपुरको भूगोल मात्रै हैन, धर्म र संस्कृतिमै विभाजनको बीउ रोपेको आरोप पनि लाग्ने गरेको छ । कुकी बसोबास गर्ने क्षेत्रबाटै अवैध लागूपदार्थ र अवैध आप्रवासनका कुरा पनि सतहमा आउन थालेको छ । कुकीहरूलाई म्यानमारबाट अवैध रूपमा प्रवेश गरेको आरोप मणिपुरीले लगाउँदै आएका छन् । म्यानमारको चीन नेसनल आर्मी र जोमी रेभोलुसन आर्मीसँग उनीहरूको साँठगाँठ रहेको आरोप मणिपुरीको छ । दुई महिना भयो, हिंसा रोकिने कुनै छाँटकाट छैन । द्वन्द्वरत दुवै पक्षको आरोप सरकारप्रति नै लक्षित छ । महिना दिनअघि केन्द्रीय गृहमन्त्री अमित शाहले गरेको भ्रमण पनि फलदायी भएन ।
मणिपुर रेल्वे सम्पर्कबाट टाढा छ । हवाई र यातायात मात्रै मणिपुरको यातायातको माध्यम हो । ‘लाइफ लाइन’ का रूपमा रहेको मणिपुर–डिम्मापुर राजमार्ग आन्दोलन पछि लामो समय अवरोध भयो । जसको प्रत्यक्ष असर मणिपुरका विपन्न समुदायले व्यहोर्नुपर्‍यो । यातायात ठप्प हुँदा सिंगो मणिपुर अलग बन्यो । खाद्यान्न, औषधि जस्ता अत्यावश्यक वस्तु अभाव भयो । ५४ दिनपछि हालै राजमार्ग त खुल्यो, तर जनजीवन भने उस्तै छ ।

हतियारको जगजगी
मणिपुर हिंसा सुरु भएयताको करिब दुई महिनामा झन्डै चार हजार थान हतियार राज्यको ढुकुटीबाट ‘गायब’ भए । केन्द्रीय गृहमन्त्री अमित शाहको अपिलपछि केहीले हतियार फिर्ता गरे । तर, अधिकांशले गृहमन्त्रीको अपिललाई अटेर गरे । कुकीहरूको दाबी के छ भने आन्दोलन दबाउन राज्यले नै मणिपुरीलाई हतियार दिएको हो । मणिपुरीको आरोप छ, ‘कुकीहरूलाई असम राइफलले हतियार सहयोग गरेर हामीविरुद्ध उक्साइरहेको छ ।’ मणिपुरमा चीन, बर्मा हुँदै हतियार आयात हुन्छ । जसमा एके १४ सेभेन एम १६ राइभल्स पनि छ । जुन कुकी मिलिटेन्स समूहसम्म पुग्छ । कुकी अरम्बाई
टेङ्गोल र मणिपुरी लेपुन नामक सशस्त्र समूहको सहयोगमा हिंसा मच्चाइरहेको एकअर्काको आरोप छ ।
द वायरका अनुसार गृहमन्त्री साहले भ्रमणका क्रममा धेरै व्यक्तिलाई हतियार बोकेर सडकमा परेड खेलिरहेको देखेपछि गृह प्रशासनलाई सोधे, ‘यी हतियारहरू वैध हुन् कि अवैध ?’ गृह प्रशासनले जवाफ दियो, कतिको लाइसेन्स छ, धेरैको छैन । त्यसपछि साहले अवैध हतियार फिर्ता गर्न अपिल नै गरेका थिए ।
द वायरका अनुसार उत्तरपूर्वी भारतीय राज्यमध्ये मणिपुरमा सबैभन्दा बढी हतियार लाइसेन्स वितरण गरेको छ । मणिपुरमा ३५ हजार १ सय १७ जनालाई लाइसेन्स उपलब्ध गराइएको छ । सन् २०१६ डिसेम्बरमा यो संख्या २६ हजार ८ सय ३६ मात्रै थियो । रोचक के भने मार्च २०१७ पछि जब वीरेन सिंह नेतृत्वको भाजपा सरकार सत्तामा आयो, तब हतियारको लाइसेन्स वितरण द्रुत गतिमा बढ्यो । सिंहको अघिल्लो कार्यकालमा करिब ८ हजारलाई हतियार बोक्ने इजाजत दिइएको थियो ।

चुपचाप नेपालीभाषी
मणिपुरी–कुकी हिंसाबारे नेपालीभाषीहरू टिप्पणी गर्नै चाहँदैनन् । उनीहरू दुई महिनायता चुपचाप छन् । मणिपुरमा नेपालीभाषी बसोबासको इतिहास करिब २ सय वर्ष पुरानो छ । भारतीय गोर्खा परिसंघको एक दस्ताबेजका अनुसार सन् १८२४ ताका मणिपुरका तत्कालीन शासक गम्भीर सिंहले नेपाली (गोर्खा) सैनिकको सहयोगमा बर्माबाट भूमि अतिक्रमण गर्न रोकेका थिए । सुबेदार निरन्जन क्षेत्री र टेकेन्द्रजित सिंहले मणिपुरलाई अतिक्रमण हुनबाट जोगाएको इतिहास छ ।
मणिपुरको काङ्लातोम्बीदेखि काङ्पोक्पीसम्मको करिब २५ किलोमिटर क्षेत्र नेपालीभाषी बाहुल्य मानिन्छ । ब्रिटिस उपनिवेशकै बेला ब्रिटिस सरकारले नेपालीका लागि यो क्षेत्र छुट्याएको थियो । यो क्षेत्र ब्रिटिस सरकारले गोर्खा फौजका परिवारको जीविकाका लागि गाई पाल्न भनेर छुट्याएको थियो । कालापहाड, तोरीबारी, नुनपानी, मुकुली, चन्द्रमान, सेती खोलालगायत क्षेत्रमा नेपालीको बाक्लो बसोबास छ ।
दुई महिनादेखि जारी हिंसाबारे मणिपुरका नेपालीभाषी बेखबर छैनन्, तर यो विषयमा खुलेर बोल्न चाहँदैनन् । मणिपुरी र कुकी दुवै समुदायबाट बराबरी सुरक्षा र संरक्षण पाएका करिब ५० हजार नेपालीभाषी यतिबेला हिंसाबारे चुपचाप छन् । ‘हामी असुरक्षित पनि छैनौं, धेरै सुरक्षित पनि छैनौं,’ एक नेपालीभाषीले नाम गोप्य राख्ने सर्तमा भने, ‘जे होस् हामीलाई ठीकै छ ।’ कतिपय नेपालीभाषीहरू भने हिंसाका कारण भागेर नेपाल प्रवेश गरेको पनि पाइएको छ । कतिपय भने मेचीपारि भारततिरै आश्रित छन् । घरजग्गा रुङ्ने मान्छे मात्रै छाडेर नेपालीभाषीहरू आइरहेका छन् । मणिपुरी–कोकी हिंसाका कारण एक नेपालीभाषीको ज्यान गएको थियो । केही नेपालीभाषीको पसल जलाइएको थियो । ‘हामी मणिपुरी र कुकीको द्वन्द्वको दोहोरो मारमा परेका छौं,’ एक नेपालीभाषीले भने, ‘के गर्नु बोलिसक्नु छैन ।’
एजेन्सीहरूको सहयोगमा

Page 3
समाचार

अस्थिरतालाई मलजल गर्दै प्रमुख दल

- गंगा बीसी

(काठमाडौं)
प्रमुख राजनीतिक दलको केन्द्रीय ‘सिन्डिकेट’ का कारण कोशी प्रदेश सरकार संकटमा परेको छ । कोशीमा सत्ता गठबन्धन र प्रतिपक्ष दल दुवैको बहुमत नपुगेपछि अब सरकारको भविष्यमाथि प्रश्न उठेको छ । प्रदेशसभाका सभामुख बाबुराम गौतमले नै गठबन्धन सरकारको पक्षमा हस्ताक्षर गरेपछि उत्पन्न विवाद सर्वोच्च पुगेर सरकार कामचलाउमा परिणत भएको छ । कोशी प्रदेशबाट अस्थिर राजनीतिको सुरुवात भएको छ ।
स्थायी राजनीतिको ‘गफ’ गर्दै आएका राजनीतिक दलले सत्तास्वार्थका लागि पुनः अस्थिर राजनीतिलाई मलजल गरेको उदाहरण यो हो । कोशीमा ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धन कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी र जसपा १ सांसद गरी ४७ छन् । प्रतिपक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ छन् । सभामुख गौतमले बहुमत पुर्‍याउन हस्ताक्षर गरेपछि कांग्रेसका उद्धव थापा असार २१ मा मुख्यमन्त्री भएका थिए । राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगरेसम्म यो कोशी सरकारले विश्वासको मत पाउने अवस्था छैन । एमाले र राप्रपा गठबन्धन बन्यो भने पनि एक सिट रहेको जसपाको समर्थ नभए सरकार बन्ने सम्भावना छैन ।
०७९ पुस १० मा एमाले र माओवादी गठबन्धन बनेपछि हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यगरी दुई दलको गठबन्धन टुटेसँगै गत १५ असारमा कोशी सरकार ढलेपछि राजनीतिक संकट चुलिएको छ ।
नेपालको संविधान धारा १६८ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न सकिने, उपधारा ३ मा ठूलो दलको नेतृत्वमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । त्यस्तो सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । कुनै सरकारले विश्वासको मत लिन नसकेको अवस्थामा उपधारा (७) मा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेशसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने व्यवस्था पनि छ ।
हाल राजनीतिक दलको सत्ता केन्द्रित मानसिकताका कारण कोशीमा तत्काल गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा) र विपक्षी (एमाले र राप्रपा) कसैको पनि बहमत पुग्ने अवस्था देखिँदैन ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका थिए । राष्ट्रपति बनाउने विषयमा एमाले र माओवादीबीच सहमति नभएपछि यो गठबन्धन टुट्यो । त्यसपछि सरकार बनेको एक महिनाभित्र माघ २७, ०७९ एमालेको नेृत्वमा भएको सुदूरपश्चिम प्रदेश सरकार ढलेको थियो । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका हुन् । उनले विश्वासको मत पाए पनि एकीकृत समाजवादीबाट सुदूरपश्चिम सरकारका अर्थमन्त्री नरेशकुमार शाहले ल्याएको बजेटप्रति सत्तारूढ दलकै तीव्र असन्तुष्टि छ । यतिसम्म कि समाजवादीकै सांसदहरू आफ्नै अर्थमन्त्रीविरुद्ध उभिएका छन् । सुदूरपश्चिम सरकार माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले बजेट संशोधन नगरे समर्थन नगर्ने निर्णय गरेका छन् । ‘बजेटप्रति सत्तापक्षभित्रबाटै व्यापक असन्तुष्टि छ । यथास्थितिमा पारित गर्न दिनुहुँदैन भन्ने ती दलको निर्णय छ,’ माओवादी सुदूरपश्चिम प्रदेश सांसद ओमविक्रम भाटले भने ।
सुदूरपश्चिमको बजेटप्रति व्यापक असन्तुष्टि भए पनि सत्ता गठबन्धन दलले केन्द्रबाट जसरी पनि बजेट पारित गराउन दबाब दिइएको त्यहाँबाट एक सांसदले भने । ‘हामीले जति बोले पनि केन्द्रबाट बजेट पारित गर भने बाध्य भएर समर्थन गर्नुपर्ने अवस्था छ,’ ती सांसदले भने ।
माओवादीले राष्ट्रपति चयनमा रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमालेसँग गठबन्धन टुटेका कारण एमालेको नेतृत्वमा रहेका कोशीमा गत असार १५ मा, गण्डकीमा वैशाख १०, लुम्बिनीमा वैशाख ११, र सुदूरपश्चिममा गत माघ २८ मा सरकार ढलेका थिए । संघमा फागुनमै सत्ता गठबन्धन फेरिए पनि कोशीमा भने जेठ २३ सम्म माओवादी र असार १५ सम्म एमाले नेतृत्वको सरकारमा रहेको थियो । प्रदेश निर्वाचनपछि जसपाले नेतृत्व गरेको मधेश, माओवादीले नेतृत्व गरेको वाग्मती र कर्णाली सरकारले मात्र पाँच महिना समयावधि पार गरेका छन् । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एकदेखि बढीमा पाँच महिनामा सरकार फेरिँदा राजनीति खलबलिएको छ । ‘केन्द्रबाट निर्देशन नहुने हो भने हामी एमाले सरकारलाई समर्थन फिर्ता लिने थिएनौं । त्यसो भएको भए राजनीतिक संकट पनि आउने थिएन,’ माओवादी कोशी प्रदेशका एक सांसदले भनाइ छ । केन्द्रीय गठबन्धनका कारण कोशी प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा संकट उत्पन्न भएको छ । एमालेको नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकारबाट बाहिरिएको एमालेले जेठ ३० मा विश्वासको मत दियो । जबकि अरू कुनै प्रदेशमा एमालेले सत्ता गठबन्धनलाई समर्थन गरेको थिएन । जसपाबाट मुख्यमन्त्री बनेका यादवलाई एमालेले राजनीतिक स्थिरताका लागि विश्वासको मत दिएको बताएको छ ।
एमाले महासचिव शंकर पोखरेलले स्थिरताका लागि मधेश सरकारलाई विश्वासको मत दिएको बताएका थिए । उनको भनाइ थियो, ‘राजनीतिक अस्थिरताका विरुद्धमा एमालेले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलले यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ ।’ कोशी प्रदेशको राजनीतिक संकटतर्फ संकेत गर्दै उनले यस्तो भनेका थिए । मधेश सरकारलाई एमाले, कांग्रेस, माओवादी, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी गरी सबै दलले समर्थन गरेका छन् ।
टर्न सक्छ मध्यावधि ?
कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले ‘मेरो गोरुको बाह्र टक्का’ भनेजस्तै अडान नछाडे वा सर्वोच्चले सभामुखले सरकार निर्माणमा मत दिन सक्ने फैसला गरेको अवस्थामा बाहेक मध्यावधि निर्वाचनमा जाने करिब निश्चित छ । यस्तो अवस्थामा राजनीतिक दलले मध्यावधि निर्वाचन टार्न सक्ने विकल्प छन् । ६ सिट भएको राप्रपाले गठबन्धन सरकारलाई समर्थन गरेर आलोपालो मुख्यमन्त्री लिनुपर्ने एउटा विकल्पका रूपमा हेरिएको छ । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन नसकेको अवस्थामा ठूलो दल एमालेलाई जसपाले समर्थन गर्नुपर्नेछ । मधेशमा जसपा नेतृत्व सरकार संकटमा परिहाले एमालेले जोगाउने सर्तमा कोशीमा जसपाले एमालेलाई समर्थन गरे मध्यावधि टर्न सक्ने पनि विश्लेषक बताउँछन् ।
गठबन्धनले राप्रपालाई विश्वासमा लिने सबैभन्दा बलियो विकल्पका रूपमा हेरिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक अस्थिरता कसैको चाहना नभएको भन्दै कोशी प्रदेशको संकट टार्नेबारे गठबन्धनले समाधान निकाल्न गम्भीर छलफल गर्ने बताए । ‘कोशी प्रदेशसभामा गठबन्धन र विपक्षी बराबर भएको अवस्थामा हामी राप्रपासँग ठोस प्रस्ताव लिएर छलफल गर्छौं,’ उनले भने, ‘राजनीतिक अस्थिरता सुरु भयो भने निराशा बढ्नेछ । समाधानसहित विकल्प लिएर अघि जानुपर्छ ।’
कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मध्यावधिले कसैको हित नगर्ने भन्दै कोशीका सभामुख बाबुराम गौतमको मतबारे प्राविधिक समस्या समाधान गर्ने दाबी गरे ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई विश्वासमा लिने अवस्थामा मध्यावधि निर्वाचन टर्न सक्ने बताए । ‘बल ठूला दलको कोर्टमा छ । हामी पर्ख र हेरको नीतिमा छौं । राप्रपाले किस्तीमा मत राखेर सरकार बचाउनतिर लाग्दैन,’ उनले भने, ‘ठूला दलले हामीलाई विश्वासमा लिएर मध्यावधि टार्न सक्छन् ।’ उनले राप्रपालाई मुख्यमन्त्री दिए कोशीको राजनीतिक संकट गर्न सक्ने संकेत गरे । ‘हामीले केही मागेका छैनौं । ठूला पार्टीबाट प्रस्ताव आएको छैन । उनीहरूको भरपर्दो सहकार्यको आए हामी निर्णय गर्छौं,’ उनको भनाइ छ ।
माओवादी सचिव राम कार्कीले कोशी प्रदेशसभाको समीकरण अपवादका रूपमा रहेको बताए । ‘राजनीतिक स्थिरता चाहने हो भने अपवादका रूपमा ठूला दल एक ठाउँमा आएर सरकार बनाउनुपर्‍यो,’ उनले भने, ‘कि बहुमत पुर्‍याउन सक्नुपर्‍यो, सकिन्न भने मिलेर राजनीतिक संकट टार्नुपर्‍यो ।’ उनले कोशीमा राजनीतिक संकट टार्न नागरिक समाजले दबाब दिनुपर्ने बताए । पूर्वसभामुख एवं राजनीतिक विश्लेषक दमनाथ ढुंगानाले संसदीय व्यवस्थामा मध्यावधि निर्वाचन अन्तिम विकल्प भएको भन्दै दलहरूले कोशीमा सकेसम्म समाधान निकाल्नुपर्ने बताए । ‘दलहरूले राजनीतिक संकट टार्ने प्रयास गर्नुपर्छ । संसदीय व्यवस्थापमा मध्यावधि अन्तिम विकल्प हो,’ उनले भने, ‘दलहरूबीच सहमति नै भएन भने मध्यावधि जानु संसदीय व्यवस्थाको चरित्र पनि हो । अरू विकल्प छैन ।’
राष्ट्रपति कसलाई बनाउने भन्नेबारे विवाद हुँदा एमाले–माओवादी गठबन्धन दुई महिनामै भत्कियो । प्रधानमन्त्रीमा पुष्पकमल दाहालले निरन्तरता पाए पनि त्यसले आममानिसमा शंका उत्पन्न भयो । कांग्रेस र माओवादीबीच खटपट हुनबित्तिकै जुनसुकै बेला सरकार ढल्न सक्ने अवस्था छ । नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेपछि असन्तुष्ट सभापति शेरबहादुर देउवा अझै दाहालप्रति सशंकित छन् । त्यसको अनुसन्धान आरजु देउवासम्म पुग्ने हो भने दाहाल सरकार संकटमा पर्ने अनुमान छ । त्यस्तै कांग्रेस संस्थापनबाहेकका नेताहरू एमालेसँग सत्ता साझेदारबारे हुने छलफलले पनि बेलाबेला सरकार परिवर्तन हुने चर्चा चल्दै आएको छ ।
स्थायी सरकारको नारा लिएर ०७४ को आम निर्वाचनमा गठबन्धन गरेका एमाले र माओवादीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्वार्थ–संघर्षका कारण साढे तीन वर्षमा सहकार्य टुटेको थियो । स्वार्थ–संघर्ष उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले ०७७ फागुन २३ मा नेकपा विघटन गरिदिएको थियो । दुई दलबीच ०७५ जेठ पहिलो साता पार्टी एकीकरण भएको थियो । त्यसपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका थिए । आफ्नो सरकार ढल्ने अवस्था भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस ०७७ र ८ जेठ ०७८ मा संसद् विघटन गरी अस्थिरताको बीउ रोपेका थिए ।

Page 4
समाचार

जग्गा हत्याउन आफन्त नै सक्रिय

- विद्या राई

(काठमाडौं)
भातीय बुबा र नेपाली आमाबाट जन्मिएका ३० वर्षीय अमोन आदित्य परेरा अमेरिकाको क्यालिफोर्नियामा इन्जिनियर पेसामा छन् । आफ्नै पेसामा व्यस्त रहनुपर्नेमा उनी यतिबेला नेपालमै रहेका बुबाको सुरक्षा चिन्तामा छन् । आमाबुबाले नेपालमा जोडेको जग्गा हडप्न आफन्तहरू नै सक्रिय भएपछि उनीसहित दुई दिदीहरूको पनि तनाव बढेको छ ।
भारतको कर्नाटकमा जन्मिएका उनका बुबा एमसी परेरा ०३६ सालमा नेपाल आए, चितवनमा कृषिसम्बन्धी काम थाले । स्याङ्जाकी उमादेवी गुरुङसँग ०३८ माघ ७ मा उनले विवाह गरे । चितवनको तत्कालीन शारदा नगर गाउँ पञ्चायतमा विवाह दर्ता गराए । एमसीले सन् १९८३ अगस्ट २६ मा आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गरेका थिए । पुनः सन् १९८७ नोभेम्बर ९ मा दुई छोरी र पत्नीसमेतको विवरण दर्ता गरी हाल भरतपुर महानगरपालिका–१९ मा स्थायी बसोबास गर्दै आएका छन् । उमादेवी चितवन रामपुरको त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थानमा २०४१ देखि २०४४ सालसम्म सहायक प्राध्यापकमा कार्यरत थिइन् । उमादेवीकै नाममा चितवनमा नमुना कृषि फार्म पनि सञ्चालनमा थियो ।
२०५० साल भदौ २६ गते बैंककमा जन्मिएका अमोनको चितवन शारदानगर गाविसमा ०५१ पुसमा जन्मदर्ता भएको छ । उनकी कान्छी दिदी आलरिया परेरा गुरुङ ०४३ साल भदौ १४ गते शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा र जेठी दिदी डेरेने प्रिया परेरा गुरुङ ०३८ साल माघ २२ गते चितवनमै जन्मिएको अभिलेख छ । बुबा एमसी कृषि विज्ञका रूपमा विभिन्न संघसंस्थामा स्वयंसेवा गर्दै अहिले पनि नेपालमै छन् । अमोनका दिदीहरू डेरेने र आलरिया भने अमेरिकामै बस्छन् । आमा उमादेवीको ब्रेन ह्यामरेज भएर भारतमा ६४ वर्षको उमेरमा ०७४ भदौ २६ गते मृत्यु भयो ।
ललितपुर महानगरपालिका–५ मा कित्ता नं. ३५३ मा ०—८—०—०, कित्ता १४८ मा १—०—०—०, सैबुमा कित्ता २१३ मा १—४—२—० र सुनाकोठीमा कित्ता २४० मा ५—१५—०—० र काठमाडौंको कीर्तिपुरमा कित्ता २०३ मा ९९२.७० वर्गमिटर क्षेत्रफल जग्गाको लालपुर्जा उमादेवीको नाममा छ । उनको निधनपछि जग्गा हक हस्तान्तरण र नामसारीका लागि परिवारका सदस्यले मालपोत कार्यालयमा निवेदन दिएका थिए । तर, बिचौलिया र जग्गा कारोबारीसँगको मिलेमतोमा आफूहरूको जग्गा हडप्ने प्रपञ्च सुरु भएको अमोन बताउँछन् । ‘आमाको नाममा रहेको जग्गा स्वतः हाम्रो हुनुपर्नेमा अर्को मान्छेले जालझेल गरेर दाबी गरिरहेको थाहा पाउँदा निकै दुःखी छौं,’ क्यालिफोर्नियाबाट ह्वाट्सएप कुराकानीमा उनले सुनाए ।
०७७ साउन ५ मा मालपोत कार्यालय लगनखेलमा दिएको निवेदनको कारबाही बुझ्न एमसीले ०७८ मंसिर ६ मा पुनः निवेदन दिएका थिए । त्यतिबेला मात्रै उनी झसंग भए, पत्नी उमादेवीको नाममा भएका जग्गा माइतीतर्फका दिदी पूर्णिमा गुरुङ र बहिनी मीरादेवी गुरुङले हकदाबी गरेका रहेछन् । पूर्णिमाले आमाबुबाको पहिल्यै मृत्यु भइसकेको, बहिनी उमादेवी अविवाहित रहेको, उनको पालनपोषण, औषधोपचार तथा मृत्युपश्चात् काजकिरिया आफूले गरेको हुँदा उनको नाममा दर्ता भएका ललितपुरका चार कित्ताका जग्गा आफूहरूको नाममा संयुक्त नामसारी गर्न निवेदन दिएकी रहिछन् । एमसीका अनुसार झूटा विवरणकै आधारमा पूर्णिमा र मीरादेवीले ०७८ असोज ४ गते ललितपुर–२ बाट जग्गा नामसारीका लागि सिफारिस लिए । जग्गा अपुतालीअन्तर्गत दुवैलाई नामसारी हुने देखिएपछि लगनखेल मालपोतले असोज २५ गते गोरखापत्र दैनिकमा हकदाबीको ३५ दिने सूचना निकाल्यो । ‘सूचना निकालेको मलाई थाहा थिएन, पहिले मैले निवेदन दिएको हक हस्तान्तरण, नामसारीको प्रक्रिया के हुँदै छ भनेर बुझ्न जाँदा कर्मचारीले सूचना निकालेको ३६ दिन भयो भनेर सुनाए,’ एमसीले भने, ‘मैले पहिल्यै हस्तान्तरण नामसारीको निवेदन दिइसकेको थिएँ भन्दा कर्मचारीहरू अलमलमा परे ।’
हक हस्तान्तरणका लागि ०७७ साउन ५ मा दिएको निवेदनलाई बेवास्ता गरी झूटा विवरणकै आधारमा मालपोतले पूर्णिमा र मीरादेवीलाई हकदाबी सार्न सिफारिस गरेको एमसीले थाहा पाए । उनले तत्काल अमेरिकामा रहेका छोराछोरीलाई खबर गरे । ‘बुबाआमाले दुःख गरेर नेपालमा सम्पत्ति जोड्नुभएको थियो, तर आमाको मृत्युपछि अरूले जसरी खोस्न खोजिरहेका छन् भन्ने थाहा पायौँ, हामी सबै अचम्मित भयौं,’ अमोनले भने ।
छोराछोरीको सल्लाहमा एमसीले ‘पूर्णिमा गुरुङ र बहिनी मीरादेवी गुरुङको नाममा तत्काल जग्गा नामसारी तथा हक हस्तान्तरण रोक्का गरिपाऊँ’ भनी जिल्ला अदालत ललितपुरमा ०७८ मंसिर १४ मा निषेधाज्ञा रिट दर्ता गरे । मंसिर १५ को पेसी आदेशले दाखिल खारेज तथा नामसारी गर्नेलगायतका कुनै पनि कार्य नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरेपछि तत्कालका लागि जग्गा नामसारी रोकियो । तर एक महिनापछि पुस १५ मा विपक्षीहरू झिकाइएको पेसीमा अदालतले अन्तरिम आदेश खारेज गर्ने फैसला सुनायो । ‘विवादित सम्पत्तिको हक नामसारी सम्बन्धमा मालपोत कार्यालयले चलाएको प्रक्रियामा सहभागी भई निवेदकले आफ्नो प्रमाण पेस गर्न सक्ने अवस्था रहेकै हुँदा र हालसम्म विवादको सम्पत्ति यी निवेकको निर्विवाद हक स्थापित भएको अवस्था नहुँदा मालपोत कार्यालयको कानुनी अधिकारमा हस्तक्षेप हुने गरी मागबमोजिम निषेधाज्ञाको आदेश जारी गर्न मिलेन,’ फैसलामा भनिएको छ । फैसलाअनुसार उनीहरू मालपोत कार्यालय गएनन् । एमसी मंसिर २० गते उच्च अदालत पाटन गए तर उच्चले गत असार ८ गतेको फैसलाले जिल्ला अदालत ललितपुरकै फैसलालाई सदर गरिदिएको छ ।
‘हामीले हकदाबी र नामसारीको निवेदन दिइसकेको अवस्थामा थाहै नदिई मिलेमतोमा जग्गा हत्याउने प्रपञ्च भइरहेको छ,’ एमसीले भने, ‘मेरो सासूससुराको पहिल्यै मृत्यु भएको साँचो हो तर जग्गा हत्याउने हिसाबले उमादेवी अविवाहित हुन् भनेर दाबी गर्नु कसरी सही हुन सक्छ ?’
जग्गा हत्याउने प्रपञ्चमा मालपोत कार्यालयले समेत अनदेखा गरेको पीडित पक्षको आरोप छ । ‘एमसी उमादेवीको श्रीमान् हुनुहुँदो रहेछ तर पूर्णिमा गुरुङले मेरी बहिनी अविवाहित भनेर नामसारी माग्न आएपछि मुद्दा फाँटले ३५ दिने हकदाबी विज्ञापन गोरखापत्रमा सूचना निकालेछ,’ लगनखेल मालपोतमा यो केस हेरिरहेका नायब सुब्बा गुरुप्रसाद भट्टले भने, ‘एमसीले अदालतमा मुद्दा हाल्नुभयो, हकदाबीबारे मालपोतबाटै निर्णय गर्नू भनेर अदालतले पठाएको छ अरे, मसम्म फाइल आइपुगेको छैन ।’
६७ वर्षीय एमसी यता जग्गा जोगाउन न्यायिक निकाय धाइरहेका छन् भने अमेरिकामा रहेका छोराछोरीहरू बुबाको सुरक्षालाई लिएर चिन्तामा छन् । ‘मसँग नेपाली नागरिकता छैन, तर म नेपाली आमाको छोरी हो,’ एमसीकी जेठी छोरी डेरेनेले अमेरिकाबाट भनिन्, ‘आमाबुबाको शेषपछि चल, अचल सम्पत्तिको भोगाधिकार पाउने संविधानमै व्यवस्था छ, मलाई नेपालको न्यायिक प्रणालीमा विश्वास थियो, तर यस्तो नहुँदा निकै दुःख लागेको छ ।’ चितवनमै जन्मिएकी डेरेनेले पाँचवर्षे बाल्यकाल त्यहीं बिताइन् । उनकी बहिनी २ वर्षको हुँदा पढाइको सिलसिलामा भारत हुँदै अमेरिका पुगिन् । उनी बेलाबेला नेपाल आउजाउ गरिरहन्छिन् ।
पूर्णिमा गुरुङलाई यसबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उनको पक्षमा कृष्णबहादुर क्षेत्रीले सुरुवाती चरणमा अदालतमा वकालत गरेका थिए । तर, हाल संलग्न नरहेको र पूर्णिमासँग कहिल्यै देखभेट नभएको उनको भनाइ छ । ‘वारेसमार्फत जवाफ दिने काम भएको हो, मुद्दा हुन्जेल के कसो भयो भनेर फोन गर्थिन्,’ उनले भने, ‘पछि अरू नै वकिल राखिन् । पूर्णिमाका वारेस गंगाराम महर्जनले पनि आफू अहिले सम्पर्कमा नरहेको बताए । ‘मुद्दा सकिएपछि पूर्णिमा मेरो सम्पर्कमा छैनन्, फोन पनि उठाउँदिनन्,’ उनले भने ।
धनबहादुर र श्यामलक्ष्मी निरौलाले आफूलाई पूर्णिमासँग भेटाइदिएको उनले बताए । ‘उनीहरूले सन्देश महर्जन र रवीन्द्र महर्जनसँग जग्गाको बैना गरे । पूर्णिमालाई भेटाइदेऊ भन्दा उनीहरूले हामी नै मुख्य मान्छे हो भनेर कागज गराएछन्,’ उनले भने, ‘काम सुरु गर्नेबेलामा काम गर्न सकेन भनेर पूर्णिमाले श्यामलक्ष्मीहरूलाई पनि छाडेको थाहा पाएँ ।’ त्यसपछि पूर्णिमाले हेटौंडाका प्रेमबहादुर मार्फत काम गराएको र पछि मालपोतबाट सूचना निकालेको उनको भनाइ छ । ‘जबकि श्यामलक्ष्मीहरू मार्फत सन्देश महर्जन, रवीन्द्र महर्जनको पैसा परिसकेको थियो,’ गंगारामले भने, ‘प्रेमबहादुरहरूले पनि यो थाहा पाए । त्यसपछि त परेराले मुद्दा हाल्यो । त्यसका लागि हामीले वकिल पनि खोजिदिएको हो । त्यसैका लागि म वारेस बसेको हुँ ।’
मालपोत कार्यालय लगनखेलका कर्मचारी र हकदैया नै नभएका पूर्णिमा र मीरादेवी गुरुङसमेतको मिलेमतोमा गैरकानुनी ढंगले जग्गा दाखिल खारेजी नामसारी गर्न लागेको हुँदा सो रोकी दोषीलाई कानुनी कारबाही गराउन माग गर्दै एमसीले ०७८ पुस २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन दिएका छन् ।
उमादेवीका आफ्नै दिदीबहिनीले ललितपुरको नौ रोपनी तीन आना दुई पैसा जग्गा हडप्ने जालझेल रचेका छन् भने किर्ते कागजात जुटाएका नक्कली आफन्तले कीर्तिपुरको एक रोपनी १५ आना ३.५ दाम जग्गा हडपिसकेका छन् । उमादेवीको नक्कली छोरा बनेर मकवानपुर थाहा नगरपालिकाका सतराज गुरुङले कीर्तिपुरको कित्ता २०३ को ९९२.७० वर्गमिटर जग्गा नामसारी गरी धनीपुर्जा लिइसकेका छन् ।
सतराजले जग्गा हत्याउन बमबहादुर गुरुङलाई बुबा, उमादेवी गुरुङलाई आमा, राजु
गुरुङलाई दाइ, रीता लामा गुरुङलाई पत्नी, अम्मर गुरुङलाई छोरा र देवकी गुरुङलाई जेठीआमा भनी थाहा–१२ को वडा कार्यालयबाट नाता प्रमाणित गरेका छन् । किर्ते गरेको थाहा पाएपछि
एमसीले दिएको जाहेरीअनुसार प्रहरीले सतराजलाई असार ३ मा पक्राउ गर्‍यो । उनीमाथि संगठित लिखत किर्ते र ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले बताए ।
सतराजलाई नक्कली कागजात बनाउन सघाएको प्रश्नमा थाहा–१२ का वडाध्यक्ष टीकाराम स्याङतानले आफू निर्वाचित भएर आएपछि सर्जमिन मुचुल्का गरिदिएको स्विकारे ।

 

Page 5
अर्थ वाणिज्य

लम्पी रोगबारे सडकदेखि सदनसम्म सरकारको आलोचना

- राजु चौधरी

(काठमाडौं)
महामारीको रूप लिएको लम्पी स्किन रोगबारे सडकदेखि सदनमा आवाज उठ्न थालेको छ । असार २५ सम्म ७ लाख ६४ हजार ६ सय ३८ पशुमा देखिएको रोगबाट २६ हजार ९ सय ४१ पशु मरेका छन् । यस्तो अवस्था अझै बढ्न सक्ने सरकारकै निकायहरूले बताए पनि रोग नियन्त्रणमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तदारुकता नदेखाएपछि किसानदेखि सांसदसम्मले आलोचना गरेका हुन् ।
गाईबस्तुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण र क्षतिपूर्तिको माग राख्दै असार २७ मा पशु सेवा विभागमा धर्ना दिएको राष्ट्रिय किसान सञ्जालले शुक्रबार पुनः पत्रकार सम्मेलन गरेरै सरकारको विरोध गर्‍यो । शुक्रबारै प्रतिनिधिसभा बैठकमा समेत ‘लम्पी स्किन’ रोगको विषयले प्रवेश पाएको छ ।
प्रतिनिधिसभा बैठकको सुरुवातमा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए । ‘चार महिनामा लम्पीले विकराल रूप लिएको छ । धेरै किसानका दुधालु गाईभैंसी मरेका छन् । खेती लगाउने समयमा गोरु मरेका छन् । लम्पी रोग विकराल भइरहँदा सरकार गम्भीर देखिएन । सरकारले त्यसलाई जति गम्भीरतासाथ लिनुपर्थ्यो, जुन तदरुकता देखाउनुपर्थ्यो र उपचारमा लाग्नुपर्थ्यो,’ गिरीले भने, ‘सरकार उदासीन हुँदा विपन्न र गरिब किसानले ३७ अर्बको क्षति बेहोर्नुपरेको छ ।’
रोगले महामारीकै रूप लिइरहँदा सरकारले करिब ११ लाख डोज खोप मात्र आयात गरेको छ । करिब २ लाख २२ हजार पशुलाई मात्रै खोप दिइएको छ । कृषिले बजेट अभावकै कारण सबै ठाउँमा खोप दिन नसकेको बताउँदै आएको छ । तर, सांसदहरू बजेटको बहाना बनाउन नमिल्ने बताउँछन् । ‘खोप नपुग्नुको एउटै कारण सरकारले बजेट नदिनु रहेको विभागका महानिर्देशकहरू बताउँछन् । किसान पीडामा छन् । यस विषयमा जिम्मेवारीविहीन भएर सरकारले अभिव्यक्ति दिन मिल्दैन,’ गिरीले भने, ‘पैसा नभएको हो भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तर गरेर भए पनि किसानलाई राहत, औषधि र खोप उपलब्ध गराउनुपर्‍यो । गाउँमा जुन प्रकारले प्राविधिक पठाउनुपर्थ्यो, त्यसअनुसार प्राविधिक र खोप पठाइएको छैन ।’
राप्रपाकी सांसद रोशन कार्कीले पनि लम्पी स्किनको रोकथामका लागि सरकारी योजनाका विषयमा संसद्लाई जानकारी गराउन माग गरिन् । ‘कृषिमन्त्री मन्त्रालयमा बस्न मात्रै जानुभएको होइन होला, लम्पी स्किन रोकथामका लागि के–के काम गर्नुभएको छ, उहाँले यहाँ आएर बताउनुपर्‍यो, खोप समयमा किन पुग्दैन ? औषधि किन पुग्दैन ?, रोग रोक्न के–कस्ता कार्यक्रम छन् ?’ कार्कीले प्रश्न गरिन्, ‘यस विषयमा सदनलाई जानकारी गराउन अत्यन्त जरुरी छ । यस विषयमा जवाफ दिन सभामुखबाट कृषिमन्त्रीलाई रुलिङ होस् । कृषिमन्त्री पन्छिएर बस्न मिल्दैन ।’
लम्पी रोग विकराल भए अर्को आर्थिक संकट आइलाग्ने उनले बताइन् । त्यसका लागि कृषि मन्त्रालय संवेदनशील भएर लाग्नुपर्नेमा उनको जोड छ । ‘हामी प्रत्यक्ष होस् वा पार्टीका रूपमा होस्, किसानसँग जोडिएका छौं, हामीलाई उनीहरूले मत दिएका छन्, ‘कार्कीले भनिन्, ‘लम्पी स्किनबारे यहाँ व्यापक छलफल हुन्छ होला भन्ने लागेको थियो । किसानको बेहाल भएको छ । हजारौंको संख्यामा चौपाया मारेका छन् । कृषिमन्त्रीलाई बोलाउन रुलिङ हुन्छ भन्ने लागेको थियो । तर किन हो हामीमा संवेदनशीलता देखिएन ।’
खोप र रोग नियन्त्रणका लागि बजेट नभए दैवी प्रकोपका लागि छुट्याइएको करिब ७४ करोड लम्पी रोगमा पनि खर्च गर्नुपर्ने कार्कीको भनाइ छ । ‘अर्थमन्त्रीज्यूले दैवी प्रकोप (बाढीपहिरो) का लागि ७४ करोड छुट्याइएको भन्नुभएको थियो, लम्पी रोगले किसानको भविष्यमा ठूलो खेलबाड भएको छ,’ उनले भनिन्, ‘कुनै पार्टीको सत्ता जोगाउन नभई पीडित किसानको तथ्यांक संकलन र अनुदान दिनुपर्छ । यस विषयमा अर्थमन्त्रीलाई संवेदनशील हुन आग्रह गर्छु ।’
लम्पी स्किनकै कारण किसान उठ्न नसक्ने अवस्थामा पुगेकाले तत्काल राहतको व्यवस्था हुनुपर्ने कांग्रेसका सांसद रामहरि खतिवडाले बताए । ‘लम्पी स्किन रोगले एउटा सबैतिर प्रभावित बनाएको छ । यो पहाडमा झनै विकराल अवस्था भएको छ,’ उनले भने, ‘गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ । यो बेला सरकारले लम्पी उपचारका लागि तत्काल व्यवस्था गर्नुपर्छ । आवश्यक व्यवस्था मिलाउन आग्रह गर्छु ।’
सांसदहरूले कृषिमन्त्रीले जवाफ दिन आग्रह गरेपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । सभामुख घिमिरेले सरकारले त्यसबारे गरेको काम कारबाहीबारे सदनलाई जानकारी दिन रुलिङ गरेका हुन् । ‘लम्पी रोगका सन्दर्भमा विगतका बैठकदेखि आजका बैठकमा पनि कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोकथामका लागि गरेका कार्यबारे सदनलाई जानकारी गराउन सम्बद्ध मन्त्रीलाई निर्देश गर्दछु,’ उनले भने ।
सरकारले रोग नियन्त्रण र राहतमा ध्यान नदिए राष्ट्रिय किसान सञ्जालले आन्दोलन गर्ने जनाएको छ । सञ्जालले शुक्रबार पत्रकार सम्मेलन गरेर एक सातासम्म हेर्ने र त्यसपछि कडा रूपमा प्रस्तुत हुने जनाएको छ । ‘रोग नियन्त्रण र खोपका लागि प्रत्येक पालिकामा करोड रुपैयाँ पठाउनुपर्नेमा एक लाखका दरले पठाएको छ, यो लाजमर्दो कुरा हो,’ अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले, ‘अर्बौं रुपैयाँको क्षति भएको अवस्थामा रोग नियन्त्रणको तयारी शून्य छ । किसानको माग सम्बोधन नभए किसानको पक्षमा आन्दोलन गर्नेछौं ।’
सरकारसँगै बिमा कम्पनीले पनि लापरबाही गरिरहेको सञ्जालका संयोजक गणेश तिमिल्सिनाले बताए । ‘किसानलाई बजेट चाहिएन, रोग नियन्त्रण गर्न औषधोपचार र गाउँमा डाक्टर भए पुग्छ,’ उनले भने, ‘किसानका गाईभैंसी बचाइदिनुपर्‍यो । तत्काल राहतको व्यवस्था गरिदिनुपर्‍यो ।’
पशु सेवा विभागका अनुसार ०७९ चैतमा कोशी प्रदेशबाट सुरु भएको लम्पी प्रकोप मुलुकभर महामारीका रूपमा फैलिएको छ । असार २५ सम्म ७ लाख ६४ हजार ६ सय ३८ पशुमा रोग देखापरेको छ । ४ लाख ९३ हजार ४ सय ३९ पशु निको भए पनि २६ हजार ९ सय ४१ पशु मरेका छन् । २ लाख ४४ हजार २ सय ५८ पशुमा अझै रोग सक्रिय रूपमा रहेको विभागले जनाएको छ ।

अर्थ वाणिज्य

कामको भुक्तानी नपाएपछि निर्माण व्यवसायी सडकमा

- विमल खतिवडा

(काठमाडौं)
काम गरेको रकम भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित बनेका छन् । भुक्तानी र वास्तविक म्याद थपको मागसहित निर्माण व्यवसायी आन्दोलित बनेका हुन् । चैतदेखि काम गरेको भुक्तानी नपाएपछि नेपाल निर्माण व्यवसायी महासंघ टोलीले शुक्रबार माइतीघर मण्डलामा नाराबाजीसहित एक घण्टा धर्ना दियो ।
‘असार मसान्तसम्म तुरुन्त रकम भुक्तानी गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’, ‘मूल्य समायोजन तुरुन्त कार्यान्वयन गर’, ‘माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर’ लगायत नारासहित व्यवसायीले धर्ना दिएका हुन् । अहिलेसम्म सबैभन्दा ठूलो समस्या नै काम गरेको रकम भुक्तानी नहुँदा भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
‘विभिन्न विकासे मन्त्रालयबाट १५ अर्ब रुपैयाँ भुक्तानी लिनु छ, बिल पास गरेर भुक्तानीका लागि अर्थ मन्त्रालय पठाइएको बुझिएको छ,’ उनले भने, ‘अहिलेसम्म सबै रकम भुक्तानी भइसकेको छैन ।’ दायित्व सिर्जना हुन बाँकी र काम गरिसकेको थप ३५ अर्ब रुपैयाँ भुक्तानी लिन रहेको सिंहले जनाए । नियमित भुक्तानी नहुँदा पुँजीगत खर्च पनि कम भएको व्यवसायीहरूको भनाइ छ ।
‘बिल पास भएको भौतिक मन्त्रालयको ९ अर्ब, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र खानेपानी मन्त्रालयबाट २/२ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी छ,’ अध्यक्ष सिंहले भने । अर्थ मन्त्रालयमा भुक्तानी माग्न जाँदा बिनाबजेटको आयोजनामा किन काम गरेको भन्दै उल्टै गाली गर्ने गरेको व्यवसायीको आरोप छ । ‘बिनाबजेटका आयोजनाको भुक्तानी गर्न नसक्ने जवाफ आयो,’ उनले भने, ‘हामीले ठेक्का सम्झौता गरेर यति समयभित्र काम गर्ने भन्ने कि अर्थले बजेट दिन्छ, दिँदैन भनेर जोखना
हेरेर बस्ने ?’
अर्थबाट सहज रूपमा रकमान्तरको रकम निकासा नपाउँदा समस्या भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । त्यसको प्रभाव आयोजनाको काममा परेको उनले सुनाए । ‘निर्माण व्यवसायीसँग सम्झौता भएअनुसार काम भयो, त्यहीअनुसार बिलको भुक्तानी दिनुपर्छ,’ उनले भने, ‘पैसा भएको ठाउँमा भुक्तानी भएको छ । पैसा नभएको ठाउँमा रकम भएको स्रोतबाट रकमान्तरको प्रस्ताव गरिएको छ ।’ त्यसमा पनि कुनै ठाउँमा रकम फुकुवा नभएका कारण रकमान्तर स्वीकृत नभएको उनले जनाए । निर्वाचन क्षेत्रमा सांसदले सिफारिस गरेका सडकमा निर्माण जारी रहे पनि रकम भुक्तानी हुन नसकेको उनको भनाइ छ ।
‘जुन सडकको ८० करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ, अहिले रकमान्तर प्रस्तावका लागि पेस गरेको फाइल स्वीकृत गरिदिए त्यहीअनुसार भुक्तानी हुन्थ्यो,’ ढकालले भने, ‘अहिले पुल निर्माणको पनि २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।’ यसमा अर्थले व्यवस्थापकीय भूमिका खेल्नुपर्ने उनको सुझाव छ । ‘अहिले निर्माण व्यवसायी आफैं भुक्तानीका लागि अर्थ मन्त्रालय पुग्नुपर्ने अवस्था छ,’ उनले भने ।
पहिला भुक्तानीमा समस्या भए पनि अहिले केही सहज भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जनाए । ‘सुरुमा समस्या नै थियो,’ उनले भने, ‘अहिले कामै नभएका आयोजनामा बाहेक अन्यमा भुक्तानी समस्या छैन ।’ शुक्रबार मात्र ८० करोड रुपैयाँ अर्थबाट स्वीकृत भएर भुक्तानी अघि बढाइएको उनले बताए ।
‘समयमै रकमान्तरको रकम स्वीकृत भएको भए त्यहीअनुसार काम हुन्थ्यो,’ उनले भने, ‘ढिला भुक्तानी गर्दा काममा पनि बाधा पुगेको छ ।’ अर्थसँग ४५ अर्ब रुपैयाँ रकमान्तर माग गरिएकाले त्यहीअनुसार भुक्तानी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता भीमार्जुन अधिकारीले जनाए । निर्माण व्यवसायीहरूले सहज रूपमा रकम भुक्तानी नभएकाले थप काम गर्नसमेत समस्या भएको उनको भनाइ छ ।
बजेट प्रणालीअनुसार गर्न सकिने र मिल्न सक्ने आयोजनामा भुक्तानी दिइरहेको अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेलले बताए । ‘सकेसम्म निर्माण व्यवसायीको दायित्व तिर्ने भन्ने नै हो, तर अवस्था हेरेर तिर्नुपर्छ,’ उनले भने, ‘हामीले भुक्तानीलाई विवेकपूर्ण रूपमा हेरेका छौं, यति गर्दागर्दै कतैकतै रोकिएको हुन सक्छ । वैदेशिक स्रोतको रकम फुकुवा भएको हुँदैन, यसमा चाहेर पनि भुक्तानी दिन सकिँदैन ।’ फुकुवा नभएका स्रोतहरूमा भुक्तानी रोकिने र फुकुवा हुनासाथ दिइने उनले बताए । आर्थिक वर्ष सकिनै लाग्दा असारमा आएर बढी खर्च हुने विकास निर्माणको एउटा मोडल नै बनिसकेको उनको भनाइ छ ।
‘बजेट प्रणालीमा सुधार गर्दागर्दै पनि सुधार भइसकेको छैन,’ उनले भने, ‘चाँडै बजेट ल्याउँदा पनि योजना कार्यान्वयनको प्रक्रिया माघ–फागुनमै पुग्ने गरेको छ, यसमा सुधारको खाँचो छ ।’ यस वर्ष माघबाटै बजेटमा छलफल गरिने उनले बताए । ‘कहिले बजेटको सीमाभन्दा बढी दायित्व सिर्जना भएको हुन्छ,’ उनले भने, ‘त्यसबाहेक बजेटले दिएसम्म र सरकारको ढुकुटीमा भएसम्म सरकारको दायित्वलाई क्लियर गर्दै लैजानुपर्छ ।’

अर्थ वाणिज्य

जलविद्युत्को पीपीए खोलौं : परिसंघ

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी गरेको र उक्त माग पूरा गर्न विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुलाउन नेपाल उद्योग परिसंघले माग गरेको छ । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर पीपीए खुलाउन माग गरेको हो ।
मन्त्री बस्नेतसँगको भेटमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले जलविद्युत् आयोजनाको पीपीए खुला गर्न आग्रह गरे । प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्ण रूपमा खुला गरी निर्माणको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्न र प्रसारणलाइन निर्माण तथा विद्युत् व्यापारमा निजी क्षेत्रको संलग्नता गराउन उनको आग्रह छ । विद्युत् निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगले सहज रूपमा विद्युत् नपाइरहेको र यसले उद्योगहरूको उत्पादन लागत बढाउन सहयोग गरेको उनले बताए । मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न बजेटको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिए ।
समग्र ऊर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको मन्त्री बस्नेतले बताए । हालकै लागतमा १० हजार मेगावाट उत्पादन गर्न २० खर्ब बराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उनको भनाइ छ । समग्र ऊर्जा क्षेत्रको विकासका लागि ‘ऊर्जा दशक’ घोषणा गरी अगाडि बढ्न गृहकार्य गरिरहेको उनले जनाए ।

Page 6
समाचार

अभावले जेलिएको छुले–नीले

- कान्तिपुर संवाददाता

(गोरखा)
छुले गाउँका ६६ वर्षीय आपे लामाले एक बोरा चामल किन्न ११ दिन लगाएर त्रिशूली पुगेको भुलेका छैनन् । ‘१२/१५ वर्षको उमेरमा त्रिशूली पुग्न ९ दिन, फर्किन ११ दिन लगाएर चामल बोकेको हुँ,’ उनले भने, ‘पकाउने भाँडा, पिठो बोकेर ओडारमा बस्दै नुनतेल, चामल किन्न जान्थ्यौं ।’ भौगोलिक विकटताले समयको बर्बादीसँगै महँगीको मारमा पनि परेको लामाले गुनासो गरे ।
‘हाम्रो गाउँ आउन बाटो लामो छ, धेरै हिँड्नुपर्दा दुःख छ,’ उनले भने । लार्के सडकको ट्र्याक खोल्ने क्रममा चुमनुव्री–३ को जगतसम्म सवारी आउजाउ गर्न थालेपछि छुले र नीलेका बासिन्दाको पनि पैदल दूरी छोट्टिएको छ । पछिल्लो समय लामो बाटो पिठ्यूँमा भारी बोक्नुपरेको छैन । खच्चडमार्फत दैनिक उपभोग्य सामग्री गाउँ पुग्छ । तर लागतको तेब्बर मूल्य खच्चडको ढुवानी भाडामै खर्च हुँदा स्थानीय महँगीको चपेटमा छन् । प्रतिकेजी ७० रुपैयाँसम्म ढुवानी भाडामा खर्च हुँदा एकपोका नुनको ९० रुपैयाँ पर्ने लामाले बताए । उनले भने, ‘माछाखोलाबाट खच्चडमा बोकाएर ल्याउँदा २ दिन लाग्छ, आधा पैसा ढुवानीमै सकिन्छ ।’
चुमको माथिल्लो उपत्यकामध्ये साविकको छेकम्पार गाविसमा छोखाङपारो, जोङ, डाक्यु र लेरु, बुर्जी र ङाग, लार, फुर्पे र पाङदुन तथा छुले र नीले गाउँ छन् । लार्के सडकको ट्र्याक खुलेसँगै चुमनुव्री–३ को जगतसम्म सवारी पुगेपछि २ दिन पैदल यात्रामा छेकम्पार पुगिन्छ । एक दर्जनभन्दा बढी डाँडा कटेपछि आउने समथर भूभागको छेकम्पार पुगेपछि जोकोही आगन्तुक प्राकृतिक सौन्दर्यतासँग लोभिन्छन् । मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने चुमनुव्री गाउँपालिका–७ छेकम्पारको पनि अन्तिम बस्ती छुले र नीलेका बासिन्दा कहिल्यै फुर्सदमा हुँदैनन् ।
खेतीकिसानीका बाहेक स्थानीय यार्चा संकलन गरेर जीवन निर्वाह गर्छन् । धान खेती नहुने यस क्षेत्रमा गहुँ, फापर, आलुलगायत कृषि उपज उब्जनी हुने बारीमै स्थानीयको दिन बित्छ । छुलेका ५९ वर्षीय दोर्जेर् मिङ्गुर लामाका ६ छोरा पढाइको सिलसिलामा काठमाडौंमा छन् । ३० रोपनीमा उनले आलु, फापर, तोरी, गहुँ लगाउँछन् । उब्जनीले दोर्जेलाई ६ महिना पनि खान पुग्दैन । ‘खेताला पाइँदैन, जग्गा बाँझो छाडेको छैन,’ उनले भने, ‘यो ठाममा गहुँ छरेको ११ महिनामा पाक्छ, फापर र आलु पनि ६/७ महिनामा भित्र्याउन मिल्छ । जति दुःख गरे पनि आफ्नो बारीको उब्जनीले पुग्ने भनेको ६/७ महिनालाई हो ।’
चौंरी र घोडाको स्याहारसँगै बारी र घट्ट आउजाउमै फामु लामाले ८ दशक बिताइन् । भन्छिन्, ‘दुःख र अभावले कहिलै छाडेन ।’ फामु बुढ्यौली लागेसँगै कम्मर दुख्ने र आँखा नदेख्ने समस्यामा छिन् । अस्पताल पुगेर आफ्ना समस्या सुनाउनेसम्म उनलाई आँट छैन । ‘नागरिकता यही टोली आउँदा बनाएको, टाढा भएर बजार जानै मन लाग्दैन,’ उनले भनिन्, ‘दाँत पनि झरिसक्यो, यतिका वर्ष गाउँ नछाडेरै बित्यो, अब बुढेसकालमा के बजार जानु ।’
जगतसम्म सडकको ट्र्याक खुलेसँगै गोरखा सदरमुकाम आउन कम्तीमा ३ दिनको यात्रा गर्ने छेकम्पारवासीलाई तिब्बतको बजार पुग्न भने एक दिन खर्चिए पुग्छ । दूरी छोट्टिए पनि स्थानीयलाई महँगीको चपेटाले भने छाडेको छैन । सडकमार्गबाट गोरखाको माछाखोलासम्म पुगेको एक केजी सामग्री खच्चडबाट ढुवानी गर्दा ७० रुपैयाँ तिर्नुपर्ने अर्का स्थानीय टसी लामा बताउँछन् । ढुवानी भाडाले गाउँमा उपभोग्य सामग्रीको भाउ महँगो पर्ने उनले बताए । ‘एक किलो नुन २० रुपैयाँ पर्‍यो भने खच्चडमा बोकाएको ज्याला ७० रुपैयाँ दिनुपर्छ,’ टसीले भने । कुल्हा पासाङ, गणेश (ज्यो डाल्हा) र टासी पाल्साङ हिमालले घेरिएको छेकम्पारको पनि अन्तिम गाउँ हुन् छुले र नीले । २२ घरको नीले र ३० घरको छुले गाउँबाट ४ घण्टा पैदल हिँडे तिब्बती सीमाको ङुइला भन्ज्याङ पुगिन्छ ।
परापूर्वकालदेखिका मौलिक प्रकृतिका एकनासका घर यहाँको अर्को विशेषता हो । जिल्लाकै अन्तिम गाउँ छुले र नीलेको बस्तीमा ढुंगैढुंगाको गाह्रो र काठको छानाद्वारा निर्मित घरलाई ढुंगाले घेरिएको छ । प्रायः घरको आँगनमा दुधालु चौंरी र स्थानीय प्रजातिका कुकुर भेटिन्छन् । पाखाभरि चरणका लागि छाडिएका याक, चौंरी र घोडा जब साँझ परेपछि गोठ फर्कन्छन्, गाउँले जीवनको वास्तविक जीवन्त तस्बिर देखिन्छ । प्राकतिक र सांस्कृतिक हिसाबले धनी छुले र नीलेका बासिन्दा दुःख, अभाव र महँगीमा जेलिएका छन् । दैनिक उपभोग्यलगायत सामान गोरखाकै आरुघाट, माछाखोला तथा तिब्बती बजारको भर पर्छन् ।
वैशाख अन्तिम साताबाट यहाँका बासिन्दा यार्चा संकलनका लागि एक दिन पैदल हिँडेर खर्कमा पुग्छन् । ‘आम्दानीको स्रोत छैन, सिजनमा यार्चागुम्बु टिप्न जान्छ, यार्चा पनि कुनै वर्ष राम्रै पाउँछ, कहिले त्यति हुँदैन, मौसम र आफ्नो कर्ममा भर पर्नुपर्छ, त्यही बेचेर वर्ष दिनभर पुर्‍याउनु सिवाय अरू आम्दानीका बाटो छैन,’ छुलेका तेन्जिङ लामाले भने । वर्षभरि दुःख गरेर उब्जाएको कृषि उपजले ६ महिनालाई पनि नधान्ने तोन्जिङले पनि दुखेसो पोखे । ‘वैशाखमा रोपेको फापर पुसमा काट्ने बेला हुन्छ, यति दुःख गर्छौं, उब्जनी त्यति राम्रो हुँदैन,’ उनले भने ।
छुलेवासी अर्मपर्म गरेर खेती गर्छन् । सकेसम्म ज्यालाको चलन गरिने तेन्जिङले सुनाए । ‘बारी जोत्न झोपाको प्रयोग गर्छौं, जोत्दा अगाडि बसेर एक जना झोपा तान्ने र पछाडि हलो समात्ने मान्छे चाहिन्छ,’ उनले भने, ‘आलोपालो अर्मपर्म गरेर बारी जोत्छौं ।’ गाउँमा माध्यमिक तहको विद्यालय छैन । अध्ययन र रोजगारीको सिलसिलामा गाउँका बालबच्चादेखि युवासम्म काठमाडौंलगायत सहरमा छन् ।
छुले र नीले गाउँबाट आधा घण्टाको दूरीमा छुले नीले आधारभूत विद्यालय छ । चार कक्षासम्म पढाइ हुने विद्यालयका विद्यार्थी कक्षा ५ बाट पढ्नका लागि गाउँपालिका केन्द्र सिर्दीबासमा रहेको बुद्ध आवासीय माविमा पुग्छन् । मावि पुग्न कम्तीमा एक दिन पैदल हिँड्नुपर्छ । केहीले काठमाडौं तथा भारतमा रहेको गुम्बामा पनि बालबालिका पढाउन पठाएका छन् ।
नीलेका हिसे ल्हामुले अक्षर चिन्न पाइनन् । तीन छोरालाई उनले पढ्नका लागि गुम्बा र सिर्दिबास पठाएकी छन् । ‘ठूलो छोरो इन्डियाको गुम्बामा पढ्छ, अर्को छोरो फिलिमको स्कुलमा होस्टलमा बसेर पढ्छ, कान्छो भर्खर पाँच वर्ष पुग्यो,’ उनले भनिन्, ‘पढेनन् भने बालबच्चाले दुःख पाउँछन्, पढ्नका लागि आफ्नो काख छाडेर पठाउनुपर्छ ।’ छोराछोरीको नियास्रोले अभिभावक बिदा भएलगत्तै बालबच्चा लिन विद्यालय पुग्छन् ।
नीले गाउँकै डोल्मा लामालाई अक्षर चिन्न नपाएको पछुतो छ । १६ वर्षको उमेरमा विवाह भएकी डोल्माको ५ छोरा र ३ छोरी छन् । आफूले अक्षर नचिन्दा पाएको दुःख सम्झिएर उनले छोराछोरीलाई पढाउन छुटाएकी छैनन् । ‘दुई छोराछोरीलाई लामा पढाएको छु, अरू सबै काठमाडौंमा स्कुल पढ्छन्,’ उनले भनिन्, ‘हामीले पढ्न पाइएन, दिन काट्ने जिन्दगी बिताउने काम मात्र भयो, दुःख पाउँदैनन् कि भनेर आफूले दुःख गरेर पनि छोराछोरीलाई पढाएका छौं ।’ छुले र नीले गाउँवासीका लागि स्वास्थ्य उपचारमा सघाउ पुर्‍याउन क्यान नेपालद्वारा सञ्चालित स्वास्थ्य संस्था नीले गाउँमा छ । तर ठूलो उपचारका लागि भने हेलिकोप्टर चार्टर गरी काठमाडौं जानुपर्ने बाध्यतामा छन् ।
बिहान–बेलुकी भान्सामा भेटिने महिला दिनभर घरेलु तानमा कपडा बुन्न व्यस्त भेटिन्छन् । चुमनुव्री–७ की सेराप छेन्जोमले ८ दिन लगाएर गलैंचा तयार गरिन् । सेराप आफ्ना दुःखले तयार गरेका कपडा सकेसम्म बिक्री गर्दिनन् । ‘बिक्री गर्दा पनि ८/१० हजार आउँछ, बनाउन ८ दिन लाग्यो, यो बेचेर फाइदा भए पो,’ उनले थपिन्, ‘आफूले प्रयोग गर्ने कपडा किनेको चित्त बुझ्दैन, आफ्ना लागि आफैं तयार गर्छौं, बेच्ने भनेको कहिलेकाहीं मात्र हो ।’
यहाँका अधिकांश महिलाको हातमा विभिन्न खाले कपडा तयार गर्ने सीप छ । घरेलु तान र खेती किसानी र पशुपालनमा स्थानीयको दिन बित्ने गरेको छ । छुले र नीलेका प्रत्येक घरका स्थानीयले चौंरी, याक र घोडा पालेका छन् । कोरोना महामारीले उत्तरी नाका बन्द हुँदा याक र घोडाले काम नपाएको स्थानीयवासीले दुखेसो पोखे । वन्यजन्तुको आक्रमणले चौंरी मारिदिँदा पनि स्थानीय समस्यामा छन् । एउटा झोपा मर्दा एक लाखसम्म घाटा पर्छ । ‘झोपाले सबै काम गर्छ, खेतीपाती, दाउरा बोक्ने, तिब्बतबाट भारी बोक्ने उसैले हो,’ छुलेका ङवाङ लामाले भने, ‘चाइना जान नपाउँदा अहिले झोपाले काम पाएको छैन ।’
आफ्नै चौंरीलाई बोकाएर तिब्बतको स्याबाट सामान ल्याउँदा सस्तो पर्ने छुलेका ङवाङ लामा बताउँछन् । ‘तिब्बतको बजारमा भए आफ्नै घोडा र चौंरीबाट बोकाएर ल्याउँदा ढुवानी दिनुपर्थेन,’ उनले भने, ‘खच्चडबाट बोकाएर ल्याउँदा सामानको परेको मूल्यभन्दा तेब्बरसम्म शुल्क दिनुपर्छ ।’ तिब्बतबाट सामान ल्याउन पाए जान आउन पनि सजिलो, आफ्नो चौंरी घोडाले पनि काम पाउने, ढुवानी पनि तिर्नु नपर्ने अवस्था रहने उनको भनाइ छ । नाका बन्द हुँदा गाउँमा जिम्बुको समेत अभाव खड्किएको उनले बताए । ‘चौंरी र घोडालाई तिब्बतको नुन खुवाउँथ्यौं, नाका बन्द हुनुअघि तिब्ब्तबाट ल्याएको नुन पनि सकिन लाग्यो, अहिले तलकै पोके नुन मिसाएर दिन थालेका छौं,’ उनले भने ।
छेकम्पारबाट तिब्बत सीमा क्षेत्रको ङुइला भन्ज्याङसम्म जोड्ने सडक निर्माणको काम २ वर्षदेखि रोकिएको छ । छुले र नीलेवासी विकटताका हिसाबले योजना र विकासका काममा सधैं पछि परेको गुनासो गर्छन् । ‘ठूलो योजना र विकासका काम अहिलेसम्म केही भएको छैन,’ छिरिङ लामा भन्छन्, ‘भूगोलले पछाडि परेको गाउँलाई राज्यले पनि खासै हेरेको छैन ।’ मनास्लु क्षेत्र घुम्न पुगेका विदेशी पर्यटकको रोजाइमा केही वर्षयता चुम उपत्यका पनि पर्ने गरेको छ । नीले गाउँबाट १ घण्टाको दूरीमा रहेको मु गुम्बासम्म विदेशी पर्यटक पुग्न थालेका छन् ।
सन् २००८ मा क्याम्पिङ गरी बस्ने पर्यटकलाई लक्षित गरेको सेवालाई सुधार गर्दै नीले गाउँका तेन्जिङ छोटाक लामाले होटल खोलेका छन् । सिजनको बेला तेन्जिङको होटलमा विदेशी पर्यटक खचाखच हुन्छन् । ‘सुरुमा क्याम्पिङ गर्नेलाई आलुबारीमा टेन्ट टाँगेर राख्थ्यौं, पछि होमस्टे सुरु गर्‍यौं,’ उनले भने, ‘चार वर्ष भयो १७ रुमसहित अहिले होटल खोलेका छौं ।’ नीले गाउँमा ३ वटा किराना पसल, छुलेमा एक होटल र ३ वटा किराना पसल छन् ।
स्यार (बुढीगण्डकीको शिर) खोलाद्वारा निर्मित चुम उपत्यका–बौद्ध धर्मको आस्था र उपासनाको कर्मथलोका रूपमा परिचित छ । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको चीन सीमा क्षेत्रको चुम उपत्यका प्राकृतिक र सांस्कृतिक रूपमा धनी छ । प्राकृतिक र भौगोलिक सौन्दर्यताले छेकम्पार साथै छुले र नीले धनी छ । महँगीको चपेटाले भने आजित छन् ।
बौद्ध धर्म र पञ्चशीलको सिद्धान्तमा आधारित अहिंसा परमोधर्म अर्थात् संसारको सबैभन्दा ठूलो धर्म अहिंसा हो भन्ने भावना सबै स्थानीयले पालना गर्छन् । काटमार र जीवहिंसा कसैले गर्दैनन् । वनमा डढेलो लगाउँदैनन् । घरपालुवा कुकुर र बिरालोलाई समेत समयमा खुवाउनुपर्छ । तिनीहरूलाई यातना दिनुहुँदैन भन्ने भावना स्थानीयमा छ । घरपालुवा घोडा, याक र अन्य जनावरलाई समेत लामो समयसम्म भारी लादिएर राख्न हुँदैन भन्नेमा स्थानीय सचेत छन् । त्यसैले यो उपत्यकामा जंगली जनावरसमेत निर्धक्कसाथ डुल्न पाएका छन् । प्रकृतिको खुला संग्रहालयका रूपमा पनि चुम उपत्यका परिचित छ । अहिंसा क्षेत्रका रूपमा रहेको छुले र नीलेमा घरपालुवा जनावर मारेर काटिखाने व्यक्तिको हातमा बेच्न पनि प्रतिबन्ध छ ।

 

समाचार

विद्यालयमा पढाइदेखि घरजमसम्म !

- कान्तिपुर संवाददाता

(सुर्खेत)
झट्ट सुन्दा शिक्षा आर्जन गर्ने थलो विद्यालय हो । तर सुर्खेतको वीरेन्द्रनगर–१ मा एउटा यस्तो विद्यालय छ, जहाँ अनाथ बालबालिकाको पढाइ मात्र हुँदैन, पालनपोषणदेखि बिहेवारीसमेत विद्यालयले आफ्नै व्यवस्थापन र खर्चमा गरिन्छ । वीरेन्द्रनगरस्थित एसओएस बालग्राममा १४ वटा घरको एउटा सानो गाउँ छ । जहाँ १४ जना आमाले २० देखि ३० अनाथ बालबालिका स्याहार गरिरहेका हुन्छन् । भर्खर जन्मिएकादेखि हिँडडुल गर्ने अवस्थाका बालबालिकालाई सम्हाल्दै आएका ती आमाहरू भने सबै कर्णाली बाहिरका हुन् । बालबालिका पढाइ सकेर बिहेवारी गरेसँगै त्यहाँ उनीहरूको रेखदेख गर्ने आमाहरू पनि ‘रिटायर्ड’ हुने गर्छन् ।
अहिले बालग्रामको एउटा घरमा ७ देखि ९ बालबालिका बस्छन् । ‘आमाबुबा गुमाएका बालबालिकालाई आफ्नै घरको महसुस होस् भनेर सबै घरमा एकएक आमाको व्यवस्था गरिएको हो, आमाहरूले आफूले हेरिरहेका बालबच्चालाई के चाहिन्छ आफैं किन्छन्,’ बालग्रामका निर्देशक गोपालप्रसाद घिमिरेले भने, ‘उनीहरूका सबै आवश्यकता पूरा गरिदिन आमालाई नियुक्त गरिएको हो ।’ उनका अनुसार अनाथ बालबालिकालाई अभिभावकविहीनको महसुस हुन नदिन आमा, बुबा, काका, काकी, मामा, दाइ, दिदी, भाइ, बहिनीलगायतका नाता सम्बन्ध पनि विभिन्न व्यक्तिसँग कायम गरिएको छ । बालग्रामभित्रै विद्यालय छ भने स्वास्थ्य चौकी, सामुदायिक केन्द्र, नाचघर, खेलकुद मैदानजस्ता संरचना पनि बनाइएका छन् । अन्तर्राष्ट्रिय बालग्रामबाट आउने सहयोगबाट सञ्चालित एसओएसमा एसईईसम्मको पढाइ सुविधा छ । यहाँ पढेपछि बालबालिका नेपालगन्जस्थित एसओएस बालग्राम जान्छन् ।
बालग्रामले उमेर पुगेर बिहे गर्न चाहेपछि अभिभावकविहीन युवायुवतीलाई बिहे खर्चसमेत उपलब्ध गराउने गरेको छ । छोरीको कन्यादान बालग्राममै नियुक्त भएका आमा–बुबाले गरिदिने गर्छन् । ‘छोरीहरूलाई विवाह गर्न २ लाख रुपैयाँ खर्च दिने गरेका छौं,’ निर्देशक घिमिरेले भने, ‘बिहे युवायुवतीको चाहनाअनुसार बालग्रामदेखि पार्टी प्यालेससम्म हुने गर्छ ।’
अहिले युवायुवतीले जागिर खाएरमात्र विवाह गर्न थालेको बालग्रामकी कर्मचारी (आमा) रुमाया गुरुङले बताइन् । ‘बालग्राममै बिहे गर्नुपर्छ भन्ने छैन,’ उनले भनिन्, ‘कतिपयले आफ्नै खर्चमा पनि विवाह गरिरहेका छन् ।’ अहिले पनि बालग्राममा पुराना छोराछोरी नातिनातिना बोकेर आउने गरेको बालग्रामकी आमा लमजुङकी ५३ वर्षीया मीठु पन्तले बताइन् । उनी ३० छोराछोरी हुर्काएर गत वर्षमात्र ‘रिटायर्ड’ भएकी हुन् । उनले आफूले १० छोराछोरीको बिहे आफ्नै हातले गरिदिएको बताइन् । उनका अनुसार अहिले उनीहरूबाट १९ नातिनातिना छन् । अधिकांश सरकारी जागिरे रहेको उनको भनाइ छ । नजिक बिहे भएकाहरू सुत्केरी खर्च लिनसमेत आउने गरेको उनको भनाइ छ । उनका अनुसार बालग्राममा आश्रित भएका युवायुवती सुत्केरी भए १५ हजार रुपैयाँ सुत्केरी खर्च पनि दिने गरिएको छ ।
अवकाशमा गए पनि आफूले हुर्काएका छोराछोरीको मायाले सुर्खेत बाहिर जान नसकेको उनको भनाइ छ । ‘छोरीहरू बेलाबेलामा भेट्न आउँछन्, बालबच्चाको आँसु लाग्छ भनेर छाडेर जान मन लाग्दैन,’ पन्त भन्छिन्, ‘आमाको मुख हेर्ने दिन एउटै छोराले ५० हजार रुपैयाँ पठायो, अरूले पनि सानोतिनो सरसहयोग गरिरहेकै छन्, उनीहरूलाई स्याहार गरेबापत हामीलाई पनि ठूलो खुसी प्राप्त भएको छ ।’ उनले हुर्काएका एक छोरा र दुई छोरी अमेरिका छन् ।
धादिङकी विष्णु अधिकारी २०४३ सालदेखि बालग्रामभित्र बस्दै आएकी छिन् । उनले अवकाश पाएको ५ वर्ष भयो । तर अझै पनि बालग्राम छोड्न नसकेको उनको भनाइ छ । ‘यहाँ छाडेर बाहिर जान मनै लागेन,’ उनले भनिन्, ‘सबै इष्टमित्र र नातेदार यहीभित्र छन् कि जस्तो लाग्छ ।’ ६० वर्ष पुगेर अवकाश पाएकी उनले ३२ बालबालिकाको स्याहार गरिन् । उनले ४ छोरी र ३ छोराको बालग्रामभित्रैबाट रीतिरिवाजअनुसार बिहे गराएको बताइन् । उनका अनुसार ५ छोराले व्रतबन्ध गरे । ‘हरेक चाडपर्वमा सम्झिन्छन्, मैले हुर्काएका छोराछोरी डाक्टर, इन्जिनियर, नर्स र सरकारी जागिरे छन्,’ उनले भनिन्, ‘अझै ५ छोरी र ४ छोराले तपार्इंले नै हाम्रो विवाह गराइदिनुपर्छ भनेका छन्, त्यसैले उनीहरूको पनि विवाह गराउने धोको छ ।’
बालग्रामबाट १२ जना आमा लामो समय काम गरेर ‘रिटायर्ड’ भएका छन् भने ७ जना आमा भित्रै आवास गृहमा पेन्सन बुझेर बसिरहेका छन् । एसओएसकी कर्मचारी रुमाया गुरुङले कोही नहुने सडकबाट उठाएर ल्याएका बालबालिकाको भविष्य उज्ज्वल भएको देख्दा आफूलाई भाग्यमानी सम्झिरहेको बताइन् । कतिपय आमाले आफ्नो तलबबाट छोराछोरीका नाममा घरजमिन पनि जोडिदिएको उनको भनाइ छ । ‘केही छोराछोरीले पनि रिटायर्ड भएका आमालाई बिहेपछि घर किनेर आफूसँग राखेका उदाहरण पनि छन्,’ उनले भनिन्, ‘अहिले त मेरो संसार पनि यही बालग्राम हो जस्तो लाग्छ ।’
सुर्खेतमा ३५ वर्षअघि स्थापना भएको बालग्राममा अहिले १ सय १२ बालबालिका अध्ययनरत छन् । अनाथ बालबालिका पढाउन र स्याहारसुसार गर्न भने ठूलो चुनौती रहेको निर्देशक घिमिरेले बताए । फरक जाति, भाषा, धर्म र रहनसहन भएका बालबालिकालाई एकै ठाउँमा राख्दा आमाहरूले पनि उनीहरूलाई हुर्काउन संघर्ष गरेका छन् । उनका अनुसार बालग्राममा कार्यरत आमाहरू खुला दरखास्त आह्वान गरी छानिएर आएका हुन् ।
बालग्रामले आफूहरूलाई शिक्षादेखि अन्य सबै आवश्यकता पूरा गराएर पुनर्जन्म दिएको विद्यालयका विद्यार्थी बताउँछन् । बालग्रामकी विद्यार्थी नूतन अधिकारीलाई जन्मिएको ३ महिनामै उनका बुबाले एसओएसको गेटमा ल्याएर छाडेका थिए । उनलाई विष्णु अधिकारीले स्याहारसुसार गरिन् । उनैको नामबाट अहिले नूतनको नागरिकता बनाएको बालग्रामले जनाएको छ । नूतनले ३ वर्षअघि बालग्रामबाटै ११ कक्षा पढेर विवाह गरिन् । उनका पति–पत्नी दुवैले एक गैरसरकारी संस्था सञ्चालन गरिरहेका छन् । ‘मैले बालग्राम र आमाकै अनुमतिमा विवाह गरेकी हुँ,’ उनले भनिन्, ‘बालग्रामबाटै मेरो कन्यादान भयो, मेरो घर कहाँ हो, बाबाको नाम के हो, थर केहो केही थाहा छैन, त्यसैले विष्णु आमाकै नामबाट नागरिकता लिएकी छु ।’
बालग्रामले आफूलाई पहिचानसँगै सबथोक दिएको उनको भनाइ छ । ‘म यहाँ हुन्थेन भने सुखी हुन्थेन, रगतभन्दा भावनाको नाता पवित्र हुन्छ भन्ने कुरा बालग्रामले प्रमाणित गरेको छ,’ उनले भनिन्, ‘अहिले मसँग आमाबाबा दाजुभाइ सबै छन्, बालग्रामभित्र कहिल्यै एक्लो महसुस भएन, अहिले चाडपर्व आयो कि बालग्राममा आएर रमाउँछु ।’

 

Page 7
समाचार

मिटरब्याज विधेयकको विपक्षमा जसपा

- मकर श्रेष्ठ

(काठमाडौं)
सत्ता गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी (जसपा) ले मिटरब्याजसम्बन्धी विधेयक जस्ताको त्यस्तै पास गर्न नसक्ने जनाएपछि उक्त विधेयक अलपत्र पर्ने भएको हो । राष्ट्रिय सभाबाट पारित भइसकेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक भूतप्रभावी भएको बहाना निकालेर जसपाले साहुको पक्षमा विधेयक बनाउनुपर्ने सर्त अघि सारेको छ । सत्ता गठबन्धनबीच नै विधेयकलाई लिएर मतभेद देखिएपछि यसको लाभ मिटरब्याजीलाई नै पुग्ने संशय बढेको हो । सत्ता गठबन्धनमा रहेको जसपा नै विरोधमा उत्रिएपछि उक्त विधेयक पारितको प्रक्रियाबाट पन्छाइएको छ । जसपाको विरोधपछि सरकार पनि विधेयक अघि बढाउन हच्किएको छ ।
विधेयकमा ऋणको लिखत स्थानीय तहबाट ६ महिनाभित्र प्रमाणित गर्नुपर्ने, कसुरजन्य कार्य गरेमा ७ वर्ष जेल र ७० हजार रुपैयाँ जरिवाना हुनुपर्ने सरकारको प्रस्ताव गलत भएको भन्दै जसपाले संशोधन हालेको छ । संशोधन नगरी विधेयक पारित गर्न खोजेमा विपक्षमा मतदान गर्ने जसपाको चेतावनीपछि प्रतिनिधिसभाको बिहीबारको बैठकमा यो विधेयकले स्थान पाउन सकेन । ‘जसपा मिटरब्याजपीडितको भन्दा पनि मिटरब्याजी साहुको पक्षमा किन उभियो भन्ने हामीले पनि बुझ्न सकेका छैनौं,’ गठबन्धनका एक नेताले भने ।
निर्वाचनका बेला आर्थिक सहयोग दिने, ऋणीहरूलाई मत हाल्न बाध्य पारेकै कारण जसपा मिटरब्याजीको पक्षमा लागेको हुन सक्ने ती नेताको शंका छ । विधेयक अघि बढाउँदा गठबन्धन नै धरमर हुने भयले सरकारले नै उक्त विधेयक अघि बढाउन नचाहेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आरोप लगाए । ‘सत्ता गठबन्धनमा रहेका दलहरूबीच खटपट हुने भएपछि बिहीबारको बैठकको कार्यसूचीमा यो विधेयक राखिएन,’ उनले भने, ‘सरकार मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न गम्भीर हुनुको साटो सरकार टिकाउन लागिपरेको प्रमाणित भयो ।’
कानुनमन्त्री धनराज गुरुङले भने उक्त विधेयक पारित गर्न सरकार पछि नहट्ने जिकिर गरे । ‘सरकारले जुन उद्देश्य राखेर विधेयक अघि बढाएको हो, पारित गर्न पछि हट्दैन । सत्ता गठबन्धन र विपक्षी दलहरूसँग छलफलपछि विधेयक पारित गर्छौं,’ उनले भने । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधेयक अघि बढाउन कानुनमन्त्रीसहित सत्ता गठबन्धन दलका मुख्य सचेतकसँग शुक्रबार छलफल गरेका थिए । छलफलपछि विधेयक अघि बढाउन सत्ता गठबन्धनबीच सहमति भएको एक नेताले बताए । शनिबार दिउँसो पनि विज्ञहरूसहित छलफल हुने जसपाका मुख्य सचेतक प्रदीप यादवले बताए । ‘सत्ता गठबन्धनका अरू दल पनि विधेयक संशोधन गर्न तयार छन्,’ उनले थपे, ‘अन्य कानुनसँग नबाझिने र भूतप्रभावी कानुनी व्यवस्था नराख्ने सर्तमा हाम्रो समर्थन रहन्छ ।’
असार २० यता संसद्को कार्यसूचीमा मुलुकी अपराध संहिता र देवानी संहिता संशोधन गर्ने मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राख्ने र हटाउने क्रम जारी छ । यससम्बन्धी अध्यादेश निष्क्रिय भएपछि प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ । विधेयक रोक्न विपक्षी दल लागेको सरकारले आरोप लगाइरहँदा शुक्रबारदेखि भने रोक्न को लागिपरेको रहेछ भन्ने उदांगो भएको परियारले बताए । रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक नल्याएकामा आपत्ति जनाए । उनले सदनमा विधेयक प्रस्तुत नभए रास्वपाले संसद् चल्न नदिने चेतावनीसमेत दिए । ‘यसअघिको बैठकमा कार्यसूचीमै थियो । हामीले प्रतिस्थापन विधेयकमार्फत त्यसलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका थियौं । तर आजको कार्यसूचीमा यो किन आएन ?,’ शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘यो कसका कारणले रोकियो ? सरकारले जानकारी दिनुपर्छ । मिटरब्याजको पीडाबाट जनता जीवनमरणको दोसाँधमा छन् । हामी फास्ट ट्र्याकबाट पास गराउन प्रतिबद्ध छौं ।’ मिटरब्याजपीडितहरू मधेश प्रदेशका विभिन्न जिल्लाबाट खाली खुट्टा ११ दिन हिँडेर चैत दोस्रो साता काठमाडौं आएका थिए । उनीहरू ब्याजलाई पनि साँवामा गाभ्दै हिसाब बढाउने गरेको, ऋण चुक्ता हुँदासमेत जग्गा फुकुवा नगरिएको भन्दै मिटरब्याजपीडितले घरजग्गा फुकुवा गरिदिन र साहुको दुष्चक्रबाट छुटकारा दिलाइदिन सरकारसमक्ष हारगुहार माग्दै आएका थिए ।
प्रमुख प्रतिपक्षी एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक संसद्मा नल्याएको प्रति आक्रोश पोखे । सत्तापक्षले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फैलाउँदै हिँडे पनि सदन निर्बाध चल्दा पनि विधेयक कार्यसूचीमा नराखिएको भन्दै उनले असन्तुष्टि जनाए । ‘एमालेको अवरोधका कारण विधेयक पास भएन भन्दै हिँड्नुभएको थियो । आज हामीले हाउस रोकेका छैनौं, तर विधेयक कार्यसूचीमा नै छैन,’ उनले भने । संसद्मा ल्याउन के कारणले रोकिएको हो, त्यसबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने उनले माग राखे । ‘विधेयक आफू नल्याउने अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने ?,’ उनले भने, ‘यो स्वाभाविक भएन ।’

Page 8
खेलकुद

ब्राजिलमा महिला फुटबलको त्यो प्रतिबन्ध

- एएफपी

(साओ पाउलो)
डिल्मा मेन्डिसलाई राम्रोसँग सम्झना छैन, सानोमा आफूलाई कतिपल्ट समातियो भनेर । उनको दोष ? ब्राजिलमा फुटबल खेल्नु । त्यो त ब्राजिल भन्नेबित्तिकै फुटबल जोडिएर आउँछ । तर, यही ब्राजिलले सन् १९७९ सम्म चार दशक महिलालाई फुटबल खेल्नमा प्रतिबन्ध लगाएको थियो ।
अर्को सातादेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा महिलाको विश्वकप सुरु हुँदै छ । ब्राजिल आफैंले पनि यो प्रतियोगिता खेल्दै छ । ठीक यही बेला तिनै मेन्डिस सुनाउँछिन्, फुटबल खेल्ने आफ्नो सपना पूरा गर्न आफूले के–के मात्र गर्नुपर्‍यो । सन् १९७० तिर उनी सानै थिइन् । आफ्ना केटा साथीहरूलाई आइसक्रिम खुवाउँथिइन् । त्यतिबेला उनी उत्तर–पूर्वको क्यामाकारीमा केटाहरूसँगै फुटबल खेल्थिन् । आइसक्रिमको बदलामा तिनै केटाहरू प्रहरी आउँदै गरेको खबर ठीक समयमा सुनाउँथे । जतिबेलासम्म मैदानमा प्रहरी हुन्थे, तिनी कतै कहीं कुनामा लुक्थिन् ।
प्रहरी गएपछि फेरि फुटबल खेल्थिन् । तर, सधैं यस्तो पनि हुँदैनथ्यो । प्रहरी आउँदै गरेको समाचार ठीक समयमा आउँदैनथ्यो । त्यसैले मेन्डिस प्रहरीको झ्यालखानासम्म पुग्थिन् । अचेल उनी ५९ वर्षकी भइन् । उनी भन्छिन्, ‘सानोमा मलाई लाग्थ्यो, पुलिसको काम खराब काम गरेकालाई समाउनु थियो । तर, मलाई कहिल्यै लागेन कि फुटबल खेलेर मैले केही गलत गरें । त्यसो प्रहरीले मलाई कहिल्यै पनि दुर्व्यवहार गरेनन् । तर तिनै प्रहरी के पनि भन्थे भने फुटबल पुरुषका लागि मात्र हो, त्यसैले केटीले फुटबल खेल्न पाइन्न ।’
सन् १९४१ ताका ब्राजिलीका राष्ट्रपति थिए, गेटुलियो भारगास । यिनै राष्ट्रपतिले महिलालाई खेलकुदमा सहभागी हुनबाट रोक लगाएका थिए । त्यही बेला खेलकुदमा किशोर–किशोरी लाग्नु राम्रो मानिन्थ्यो । किन हो, भारागास महिलालाई खेलकुदमा सहभागी गराउनुपर्छ भन्ने मान्यताविरुद्ध थिए । यसको कारण के हो भनेर कहिले भनिएन । न त खेलकुदमा सहभागी हुने महिलालाई कस्तो कानुन लाग्ने हो, त्यो नै भनियो । त्यसैले जसले महिलालाई खेलकुदमा सहभागी भयो भनेर समाउँथे, तिनै प्रहरीले आफ्नो स्वविवेकमा सजाय दिन्थे ।
बेलायत, जर्मनी र फ्रान्स जस्ता देशमा पनि केही समय महिलालाई खेलकुदमा सहभागी हुनबाट रोकिएको थियो । तर, ब्राजिल नै त्यस्तो एकमात्र देश रह्यो, जहाँ यसलाई लिएर कानुन नै बन्यो । सन् १९७९ सम्म यो कायम रह्यो । मेन्डिस जस्ता खेलाडीले खेलिरहे । तर ३८ वर्ष लामो प्रतिबन्धका कारण ब्राजिलमा महिला खेलकुदले कहिल्यै पनि प्रगति गर्ने अवसर नै पाएन । जबकि यही समय अवधिमा ब्राजिलले पुरुषमा तीनपल्ट फुटबलको विश्वकप जितिसकेको थियो । त्यो समयको ब्राजिली समाज पनि आफैंमा अत्यधिक रुढीवादी थियो । महिलालाई आफ्नो शरीर अरूका सामु प्रदर्शन गर्नु नराम्रो मानिन्नथ्यो । ब्राजिली खेलकुदबारे अनुसन्धान गर्दै आएका सिल्भाना गोयलनरका अनुसार कोही पनि महिलालाई खेलकुदमा सहभागी भयो भनेर कहिल्यै पनि कारबाही गरिएन, कम्तीमा कारबाही भएको प्रमाण छैन । तर, अधिकांस समय खेलकुदमा सहभागी भएका महिलालाई समातिन्थ्यो अनि सोधपुछ गरेर छाडिन्थ्यो ।
समातिने डरकै कारण धेरैले खेल्न पनि छाडेनन् । खेलेर नै कानुन तोड्ने काम भयो । केहीले खेल्नकै लागि पुरुषको जस्तो पहिरनमा मैदान छिरे । केहीले राति–राति मात्र खेल्थे । त्यो पनि लुकेर । सार्वजनिक नहुने स्थितिमा । जतिबेला प्रहरी आउँथे, त्यसलाई अनेक उपाय निकालेर छक्याउने काम पनि हुन्थ्यो । केहीलाई भने खेलकुदमा सहभागी हुँदा परिवारकै सहयोग हुन्थ्यो । जस्तो कि मेन्डिस नै । जतिबेला उनलाई प्रहरीले खेल्यो भनेर नै समात्ने गर्दथ्यो, उनलाई विश्वास थियो बुवा छुटाउन आउने छन् ।
तर, उनलाई आमाले भने धेरै समर्थन गरेनन् । उनकी आमालाई लाग्थ्यो, खेलकुद भनेको त पुरुषकै लागि मात्र हो । मेन्डिस परिवारकै कान्छी थिइन् । उनका पाँच दाजु थिए । उनी भन्छिन्, ‘घरमा आमा र दाजुहरूले मलाई कुट्थे पनि ।’ तर, अर्को दिन उनी जस्तै परिस्थितिमा खेल्न तयार हुन्थिन् । ‘परिवारको अत्याचार र दबाबकै कारण धेरै महिलाले खेलकुद त्यागे,’ उनी सम्झिन्छन् । उनले खेल्न भने कहिल्यै छाडिनन्, केही समय त फुटसल पनि खेलिन् । यो फुटबलको नयाँ स्वरूप थियो । कोर्ट पनि सानो भए हुन्थ्यो । सन् १९८३ मा महिलाका लागि फुटसल खुला गरिएको थियो । त्यही बेला त हो समान अधिकारको आवाज उठ्न थालेको । सन् १९९५ मा भने मेन्डिसले संन्यास लिइन् र प्रशिक्षक बनिन् । उनले नै त हो ब्राजिली महिला फुटबलका प्रख्यात खेलाडी फोर्मिगालाई हुर्कन र बढ्न मदत गरेको । उनकै नेतृत्वमा सन् २०१९ मा ब्राजिली महिला टिमले सात खेलाडीसम्मिलित हुने एक प्रतियोगिता जितेको थियो ।
उनकै समयमा पनि केही महिला फुटबल खेलाडी वास्तवमै राम्रा थिए । तर, त्यही विभेदकारी कानुनले तिनलाई खेल्नबाट रोकेको थियो । यस्तै कारणले दक्षिण अमेरिकी महिला फुटबलको इतिहास धेरै मात्रामा कहिल्यै पनि समृद्ध रहेन । समय फेरिएको छ, ब्राजिलले नवौंपल्ट महिलाको विश्वकप खेल्दै छ । यसपल्ट मार्टाको कप्तानीमा खेल्दै छ । ब्राजिलले सन् १९९१ मा पहिलो पटक महिला विश्वकपमा सहभागिता जनाएको थियो । ब्राजिलको सबैभन्दा राम्रो प्रदर्शन गरेको २००७ मा फाइनल पुग्नु नै रह्यो, जहाँ टोली फाइनलमा जर्मनीसँग २–० ले पराजित भयो । मार्टाले उक्त प्रतियोगितामा सर्वाधिक ७ गोल गरेकी थिइन् ।

खेलकुद

पुलिसका दुवै टोली फाइनलमा

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– नेपाल पुलिस क्लबको दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको फाइनल पुगेका छन् ।
महिलातर्फ अन्तिम लिग खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । योसँगै पुलिस अपराजित रहँदै फाइनल पुगेको छ । पुलिसले २५–२०, २५–१४, २५–१७ ले विजयी नतिजा निकाल्यो ।
पुलिसले ५ खेल जित्दै १५ अंक बटुल्यो । उपाधिका लागि विभागीय प्रतिद्वन्द्वी एपीएफको सामना गर्नेछ । एपीएफ ११ अंकसाथ दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई २५–१८, २५–१२, २५–१५ ले हराएको थियो । आर्मीसँग ८ अंक रह्यो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा पुरुषतर्फ पुलिसले एपीएफलाई २५–२२, २५–१३, २५–१५ ले हराएको थियो । जित्नैपर्ने दबाबका साथ कोर्टमा उत्रिएको पुलिसको १५ अंक भएको छ । पुलिसले फाइनलमा टिपटप हेल्प नेपाल र आर्मीमध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पुलिसले एक खेल गुमाएको थियो । दिनको अर्को खेलमा गण्डकी प्रदेशले दावाँली मिलन क्लबलाइ २५–२१, २५–१५, २५–१६ ले हरायो । गण्डकीको ६ अंक भएको छ ।

खेलकुद

पाकिस्तानसँग नेपालको कमजोर ब्याटिङ

- कान्तिपुर संवाददाता

(काठमाडौं)
शर्ट पिच बलमा नेपाली ब्याटिङको कमजोरी पुनः एक पटक उदांगिएको छ । पाकिस्तान ‘ए’ ले नेपालको कमजोर पक्षको फाइदा उठाउँदै श्रीलंकामा भइरहेको एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा शुक्रबार ४ विकेटको जित हात पारेको छ ।
शहनवाज दहनी र मोहम्मद वसिमको सानदार पहिलो स्पेलपछि टस जितेर ब्याटिङ गरेको नेपाली टोली कोलम्बो क्रिकेट क्लब मैदानमा १६ ओभरमा ७२–८ को स्थितिमा पुगेको थियो । सोमपाल कामीले प्रतिश जिसी र ललित राजवंशीसँग अन्तिम दुई विकेटमा १ सय ७ रन जोडेपछि नेपालको स्कोर हेर्नलायक बनेको थियो । नेपाल ३७ औं ओभरमा १ सय ७९ रनमै अलआउट भयो ।
नेपालले पहिलो ओभरमै १४ रन जोडेको थियो । त्यसमा आसिफ शेखले ३ चौका प्रहार गरे । कुशल भुर्तेल (१) लाई दोस्रो ओभरमै दहनीले बोल्ड गरेपछि नेपाली ब्याटिङ धर्मराउन लाग्यो । आसिफ (१२), पवन सर्राफ (१), अर्जुन साउद (१७), गुलशन झा (१३) सबै शर्ट पिच बलमा आउट भए ।
कप्तान रोहित पौडेल (४) लेगसाइड गएको
बलमा विकेटकिपरलाई क्याच दिन पुगे । भीम सार्की (०) र कुशल मल्ल (१७) इनसाइड एज लागेर बोल्ड हुन पुगे ।
पाकिस्तानी ओपनिङ बलिङ जोडी दहनी र वसिमले नेपालका ९ विकेट लिएका थिए । सोमपालले ७५ रन बनाए । उनी नेपालबाट आउट हुने अन्तिम खेलाडी थिए । उनले १ सय १ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे । ३७ औं ओभरको अन्तिम बलमा एक रन लिने प्रयासमा उनी विकेटकिपरलाई क्याच दिन पुगे । उनी प्लेयर अफ द म्याच दहनीको पाँचौं सिकार बनेका थिए ।
सोमपालले प्रतिशसँग नवौं विकेटमा ५८ र ललितसँग दसौं विकेटमा ४९ रनको साझेदारी गरे । त्यसमा ललितको योगदान १० बलमा १ रन बनाउनु रह्यो । प्रतिशले २४ बल खेल्दै १ चौका र २ छक्कासहित २६ रन बनाए । मुवासिर खानलाई २८ औं ओभरको पहिलो बलमा लङअफमा छक्का प्रहार गरेका उनी अर्को बलमा त्यही सट दोहोर्‍याउँदा लङअफमा क्याच दिन पुगे । दहनीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चे भने वसिमले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । फिल्डिङमा पनि नेपालको राम्रो सुरुआत भएन ।
सोमपालको इनिङ्सको पहिलो बल साइम अयुबको ब्याटबाट एज लागेर पहिलो स्लिपमा गएको थियो । तर, कुशल भुर्तेलले त्यसलाई नियन्त्रणमा लिन सकेनन् । अयुबले २४ रन बनाए । त्यसभन्दा अगाडि हसिबुल्लाह खान १२ रन बनाई आउट भए । ओमार युसुफले ३६, तैयब ताहिरले ५१ र कामरान गुलामले ३१ रन बनाएपछि पाकिस्तानले ३३ ओभरभित्र १ सय ८१ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालबाट ललितले ३ विकेट लिए । उनले ८.५ ओभरमा १ मेडन राख्दै ५० रन खर्चे । सोमपालसँग नयाँ बल लिएर आएका अफ स्पिनर पवन सर्राफले ५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर २ र कुशल मल्लले ६ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।
नेपालले सोमबार भारत ‘ए’ सँग समूह चरणको दोस्रो खेल खेल्नेछ । भारत ‘ए’ ले शुक्रबार नै कोलम्बोमा भएको खेलमा यूएईलाई ८ विकेटले हराएको थियो । यूएईले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओ भरमा ९ विकेट गुमाई बनाएको १ सय ७५ रनलाई भारतले २७ औं ओभरमा १ सय ७९ रन बनाउँदै पूरा गरेको थियो ।

Page 9
कोसेली

डिजिटल उपवास

- उपेन्द्रराज पाण्डेय

 

कोही त छ जसलाई म
आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा
खुलेर भन्न सक्छु
मेरो दुःखमा रोइदिने
मेरो खुसीमा हाँसिदिने
सबैभन्दा माथि छ
मेरो एउटा साथी छ
गायक सुगम पोखरेलको माथिको गीतले भनेझैं मान्छेलाई सुखदुःखमा साथ चाहिन्छ । हामी दुःखमा समानुभूति प्रकट गर्न र खुसीमा उत्सव मनाउन साथी खोज्छौं । चाहन्छौं, हाम्रो आवाज कसैले सुनिदेओस् π तर, के हामीले त्यस्तो साथी पाइरहेका छौं त, जोसँग सुखदुःख साट्न सकौं ? के कसैले हाम्रो आवाज सुनिरहेको छ ? विज्ञान–प्रविधिले फड्को मारिरहँदा कतै हामी त्यसैको भीडमा हराइरहेका त छैनौं ? मानव जीवनलाई आविष्कारहरूले सहज त बनाएको छ, तर किन मानिसहरू विक्षिप्त छन् ?
हिजोका चौपारी, पानीपँधेरो, चियापसल वा ‘कफीहाउस’ मा हुने जमघट अब ‘सामाजिक सञ्जाल’ को भुलभुलैयामा बदलिएको छ । सामाजिक सञ्जाल प्रयोग गर्नैहुन्न भन्ने त होइन, मिडिया साक्षरता भएका मुलुकका जागरुक नागरिकको समूहले सामाजिक सञ्जाललाई पनि सिर्जनात्मक उपयोग गरिरहेकै छ । तर, भनिन्छ नि– ‘अति भयो भने खती हुन्छ’ ! धरै भयो भने सामाजिक सञ्जाल पनि जन्जाल बन्छ । हामी कुन सामाजिक सञ्जाल चलाउँछौं भन्ने समस्या होइन, समस्या त कति र कसरी चलाउँछौं भन्ने हो । चौपारीमा बसेर चेस वा बाघचाल खेल्नुसट्टा अनलाइनमा कलब्रेक वा लुडोमा रमाइरहेका छौं । बुकमा भन्दा फेसबुकमा रमाएका छौं ।
टर्किस साहित्यकार एलिफ सफाक निबन्धात्मक पुस्तक ‘हाउ टु स्टे सेन इन एन एज अफ डिभिजन’ मा मानिसहरू भीडमा पनि किन एक्लो महसुस गरिरहेका छन् भन्नेबारे चर्चा गर्छिन् । कोरोना कहरले हामी लामो समय कोठाभित्रै थन्कियौं । त्यसै त सामाजिक सञ्जालको बढ्दो प्रयोगले घटिरहेको हाम्रो आमनेसामने संवाद झन् पातलियो । सफाक लन्डनमा राखिएको एउटा बोर्डको प्रसंग सुनाउँछिन् । कोरोना महामारी समाप्त भएपछि मानिसहरू के चाहन्छन् भन्ने प्रश्न सोधिएको थियो । ‘जब यो सबै समाप्त हुन्छ, तपाईं यो दुनियाँलाई पहिलेभन्दा कसरी फरक देख्न चाहनुहुन्छ ?’ बोर्डमा तरहतरहका उत्तर थिए, त्यसमध्ये सफाकको नजर एउटा पृथक् जवाफमा गयो । ‘मेरो चाहना छ कि मेरो आवाज सुनियोस् । जब यो सबै अन्त्य हुनेछ, म यस्तो एक पृथक् दुनियाँमा बस्न चाहन्छु, जहाँ मेरो आवाज सुनिन्छ ।’
वास्तवमा सामाजिक सञ्जालमा विचारभन्दा बढी छटपटी देखिन्छ । सबैका आ–आफ्ना सपना छन् । हतास छन् मानिसहरू, जुन सामाजिक सञ्जालका पोस्टहरूमा पोखिन्छ । सहानुभूति र ढाडस दिने पनि भेटिन्छन् त्यहाँ, मजाक र खिसिट्युरी गर्ने पनि । यसले झन् हामीलाई दलदलमा फसाएको छ । त्यसैले त सफाकको प्रश्न छ, ‘हामी यस्तो युगमा छौं कि, जहाँ हाम्रा पुर्खालाई भन्दा हामीलाई डिजिटल र मिडिया प्लेटफर्मले समान अभिव्यक्तिको अवसर प्रदान गरेको छ भनिन्छ । तर, पनि यति धेरै मान्छेहरू किन एक्लो महसुस गरिरहेका छन् ?’
भन्न त भनिन्छ– प्रविधिले दुनियाँ पहिलेभन्दा नजिकियो । तर, पनि मानिसहरू टाढा भइरहेका छन् । पहिलेभन्दा बढी हामी विभाजित भएका छौं । सामाजिक सञ्जालमा हामी हाम्रा कुरा सुनाइरहेका छौं, तर किन कसैले सुनिरहेको छैन ? केवल व्यवस्था र सत्ता होइन । केवल पैसा र शक्ति होइन, डेटा र ज्ञान पनि मुठीभर व्यक्तिको कब्जामा रहेको सफाकको मत छ । पछिल्लो समय हामीले फरक मत वा विचारलाई सुन्ने प्रयास नै गरेका छैनौं । सामाजिक सञ्जालमा ‘अल्गोरिदम’ ले पस्किने एकाकी विचारले हामीलाई भुत्ते र असहिष्णु बनाएको छ । फरक लिंग, धर्म, जात वा राष्ट्रका मान्छेलाई ख्यालठट्टाको विषय बनाइएको छ । फरक मत र विचारको मन्थनबाटै नयाँ विषय सिकिने हो, तर हामी सामाजिक सञ्जालमा आउने लाइकका लागि जे पनि बोल्न र लेख्न तयार छौं ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगले विश्वमै मनोरोगीहरूको संख्या पनि बढिरहेको तथ्यांक सार्वजनिक भइरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा करिब २८ करोड मानिसले मानसिक समस्या झेलिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार, नेपालमा नसर्ने रोगहरूमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगको छ । कोभिडअघि नै मन्त्रालयको तथ्यांकमा २ लाख ६५ हजार मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या भेटिने गरेको थियो । कोभिडका कारण यो संख्या बढे पनि तथ्यांक आइसकेको छैन । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ अनुसार, नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । विश्वभर लगभग २० प्रतिशत बालबालिका तथा किशोर–किशोरीमा भावनात्मक, व्यावहारिक तथा अन्यखाले मानसिक स्वास्थ्य समस्या भएको अध्ययनहरूले देखाएका छन् ।
अमेरिकी जनरल सर्जन डा. विवेक मूर्तिले हालै जारी गरेको एडभाइजरी अनुसार, अमेरिकामा ८ र १० कक्षामा पढ्ने विद्यार्थीले दैनिक औसत साढे ३ घण्टा सामाजिक सञ्जालमै बिताउँछन् । उनको अनुसन्धानले भन्छ— सामाजिक सञ्जाल प्रयोगकै कारण किशोर–किशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोग बालबालिका र किशोर–किशोरीमा मात्रै होइन, वयस्क मानिसकै स्वास्थ्य समस्या बनिरहेको छ । मानिसहरूले सामाजिक सञ्जालका प्लेटफर्महरू धेरैभन्दा धेरै प्रयोग गरून् भनेरै ‘पुस नोटिफिकेसन’, ‘अटोप्ले’, ‘असीमित स्क्रोलिङ फिचर’, ‘लाइक’ र ‘अटोट्यागिङ’ जस्ता विशेषता राखिएको डा. मूर्तिको मत छ । अमेरिकामा राष्ट्रिय स्तरमा गरिएको सर्भेमा ११–१५ वर्षका छात्राहरूमध्ये एकतिहाइले आफूहरूलाई सामाजिक सञ्जालको (कु)लत लागेको बताए । अझ ८ र १० कक्षामा पढ्ने विद्यार्थीमध्ये कतिपयले दैनिक औसत ७ घण्टा विभिन्न सामाजिक सञ्जालमा बिताउने गरेको बताए ।
जर्जटाउन विश्वविद्यालयका सहप्राध्यापक क्याल न्युपोर्टले ‘डिजिटल मिनिमलिज्म ः चुजिङ अ फोकस्ड लाइभ इन अ नोइजी वर्ल्ड’ पुस्तकमा सामाजिक सञ्जाललाई चलाखीपूर्ण तरिकाले चलाएर यसको सदुपयोग गर्नुपर्छ भन्ने नयाँ दर्शन प्रस्तुत गरेका छन्, जसलाई उनले ‘डिजिटल मिनिमलिज्म’ र उक्त दर्शन पछ्याउनेलाई ‘डिजिटल मिनिमलिस्ट’ नाम दिएका छन् ।
‘मिनिमलिज्म’ को अर्थ हुन्छ– अतिसूक्ष्मवाद । यो थोरैभन्दा थोरै वस्तु वा सामग्रीको उपभोग गरी जीवन जिउने कला हो । डिजिटल मिनिमलिज्म हामीले प्रयोग गर्ने प्रविधिमा लागू हुन्छ । खासमा यो सही वस्तु, प्रविधि वा मान्छेको काँटछाँट हो । जीवनमा नकारात्मक प्रभाव पारिरहेका वस्तु वा प्रविधि हटाउनु नै सूक्ष्मवाद हो ।
सहप्राध्यापक न्युपोर्ट ‘डिजिटल मिनिमलिज्म’ लाई परिभाषित गर्दै भन्छन्, ‘डिजिटल मिनिमलिज्म एउटा दर्शन हो, जसले तपाईंको जीवनमा कुन डिजिटल सञ्चार साधन मूल्यवान् वा उपयोगी छ भनेर प्रश्न गर्न सघाउँछ ।’ न्युपोर्ट नचाहिने डिजिटल हल्लालाई हटाउनुपर्ने तर्क गर्छन् । भन्छन्, ‘नचाहिने डिजिटल हल्ला हटाउनुपर्छ । सामाजिक सञ्जालको व्यवस्थित प्रयोगले तपार्इंको जीवनमा महत्त्वपूर्ण सुधार ल्याउनेछ ।’ न्युपोर्ट सामाजिक सञ्जालले कसरी हामीलाई ‘आधुनिक दास’ बनाएर औंलामा नचाइरहेको छ भन्ने उदाहरण प्रस्तुत गर्छन् । उनले विभिन्न सामाजिक सञ्जाल कम्पनीमा काम गरेका व्यक्तिका अन्तर्वार्ता, आलेखलाई सन्दर्भका रूपमा समेत प्रयोग गरेका छन् । आफैंले पनि अनुसन्धान गरेका छन् । फेसबुकको आफैं फोटो ट्याग हुने अल्गोरिदम (कम्प्युटर कोडिङ) देखि नोटिफिकेसनसम्म कसरी सुनियोजित तरिकाले ल्याइएको हो भन्ने प्रसंग उनले पुस्तकमा लेखेका छन् । ट्रिस्टन ह्यारिस, सिन पार्कर, लेह पर्लम्यान र आडम अल्टरजस्ता अनुसन्धाताहरू ‘अम्मली सामाजिक सञ्जाल’ विरुद्ध ‘ह्वीसलब्लोअर’ बनिरहेका छन् । कमभन्दा कम सामाजिक सञ्जाल प्रयोग गरी कसरी व्यावसायिक तथा सामाजिक जीवनलाई अगाडि बढाउन सकिन्छ भन्ने अनुसन्धानमा निरन्तर लागेका छन् उनीहरू ।
अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलको ‘युथ रिस्क बिहेभियर सर्भे’ ले माध्यमिक तहमा पढ्ने विद्यार्थीमध्ये ४२ प्रतिशत कुनै न कुनै रूपमा दुःखी भएको देखाएको छ । त्योमध्ये पनि २२ प्रतिशतमा आत्महत्याको सोच आएको छ । डा. विवेक मूर्ति पनि दैनिक ३ घण्टाभन्दा बढी सामाजिक सञ्जालमा बस्ने व्यक्ति डिप्रेसनमा जाने दोब्बर सम्भावना हुने अनुसन्धानमा देखिएको बताउँछन् ।
एडिनबर्ग विश्वविद्यालयमा ग्लोबल पब्लिक हेल्थकी प्राध्यापक देवी श्रीधरले यसबारे ‘गार्डियन’ मा ‘बालबालिकाका लागि सामाजिक सञ्जाल धूमपान वा जुवाजस्तै हो । किन प्रयोग गर्न दिने ?’ भनेर लेख लेखेकी छन् । जसरी चुरोट, सुर्ती र रक्सी वा जुवातासमा एउटा नीति बनाइएको छ, सामाजिक सञ्जाल प्रयोगका सन्दर्भमा पनि त्यस्तै नियम बन्नुपर्ने उनको मत छ । बाथ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको अध्ययनले समेत एक हप्ता सामाजिक सञ्जालमा छुट्टी लिने व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सुधार आएको देखाएको छ ।
सामाजिक सञ्जालको प्रयोगबारे सरकारले कम्पनीहरूलाई नियमन गर्न एउटा नीति नै बनाउनुपर्ने श्रीधरको मत छ । कम्पनीहरूले पैसा कमाउनका लागि सुरक्षा, स्वास्थ्यमा ध्यान दिएका छैनन् । जति समय हामी स्क्रिनमा बिताउँछौं, त्यति धेरै उनीहरूले पैसा कमाउँछन् । श्रीधरले नै एउटा तथ्यांक उल्लेख गरेकी छन्, ‘स्न्यापच्याटले ९९ प्रतिशत आम्दानी प्रयोगकर्तालाई विज्ञापन देखाएरै उठाउँछ, मेटा (जोसँग फेसबुक, इन्स्टाग्रामको स्वामित्व छ) को हकमा यो ९८ प्रतिशत छ ।’ यसको अर्थ हामीले समय दिएका छौं, उनीहरूले पैसा कमाएका छन् ।
मनोविद् जिन ट्वेन्जले ‘जेनेरेसन्स’ पुस्तकमा ५ वटा उमेर समूहको मानसिक स्वास्थ्यबारे चर्चा गरेकी छन् । २०१२ देखि सामाजिक सञ्जालमा उछाल आएको हो । सन् २००९ मा किशोर–किशोरीमध्ये आधाले मात्रै दैनिक सामाजिक सञ्जाल प्रयोग गर्थे, जुन २०२२ मा आइपुग्दा ९५ प्रतिशत पुगेको छ (प्यु रिसर्च सेन्टर) ।
प्रिन्सटन विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि गरेका क्रिस सेड सामाजिक सञ्जाल किशोर–किशोरीको सामाजिक जीवनमा ‘आणविक बम’ बनिरहेको बताउँछन् । फेसबुक र ट्वीटरमा समेत काम गरेका सेड एनपीआरसँगको कुराकानीमा भन्छन्, ‘किशोर–किशोरीको सामाजिक जीवनमा आणविक बमजस्तै हो– सामाजिक सञ्जाल । मलाई लाग्दैन पछिल्लो समय किशोरकिशोरीहरू सामाजिक सञ्जालमा जस्तै भौतिक रूपमा समाजसँग घुलमिल भएका छन् ।’
सामाजिक सञ्जालले हामीलाई ख्याति मात्रै दिएको छैन, यसले तनाव पनि थपिदिएको छ । लाइक, कमेन्ट, सेयर र लभ रियाक्टमा हाम्रो दिमाग घुमिरहेको छ । केही कलाकार वा सेलेब्रिटीका हकमा सामाजिक सञ्जाल गलपासोसमेत भएको छ । नभएका लाञ्छना लगाउने र व्यक्तिगत गालीगलौजका कारण सेलेब्रिटीहरूले सामाजिक सञ्जाल चलाउनसमेत छाडेका छन् । सेलेना गोमेज, लिजो, टम हल्यान्डजस्ता कलाकारले केही समय इन्स्टाग्राम र ट्वीटरबाट छुट्टीसमेत लिए । केही त लामो समयदेखि नै सामाजिक सञ्जालबाट बाहिर छन् ।
सूचनाको बाढीमा कुन सही कुन गलत ? मानिसहरू रनभुल्लमा छन् । मानिसहरू आफ्नो अनुकूलको सूचना भाइरल बनाउँछन्, जसले सञ्चार उद्योगलाई समेत चुनौती थपेको छ । ‘स्यापियन्स’ का लेखक, इजरायली इतिहासकार युभल नोह हरारी सित्तैको सूचना एकदमै खतरनाक भएको बताउँछन् । ‘राम्रो सूचना पाउन पैसा तिनुपर्ने’ मत राख्ने उनले ‘गार्डियन’ सँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘सञ्चार उद्योगका हकमा सित्तैंमा सूचना दिने विषय डरलाग्दो हो । यदि तपाईं सित्तैंमा पर्याप्त सूचना दिनुहुन्छ भने मानिसको ध्यान कसरी तान्नुहुन्छ ? ...हामी उच्च गुणस्तरीय खाना, लुगा र गाडीका लागि पैसा तिर्न तयार छौं भने स्तरीय सूचनाका लागि किन छैनौं ?’
मान्छे खुसी छैनन्, तर पनि सामाजिक सञ्जालमा नक्कली हाँसो हाँसिरहेका छन् । केही दिनअघि चिनियाँ–अमेरिकी गायिका कोको ली मानको आत्महत्यापछि एकपटक पुनः सामाजिक सञ्जालमा डिप्रेसनबारे चर्चा भयो । बढ्दो ‘स्माइलिङ डिप्रेसन’ (भित्रभित्रै दुःखी र चिन्तित, तर समाजका अघि खुसी भएजस्तो देखाउने) बारे पनि विमर्श भइरहेको छ । नाम, दाम र प्रसिद्धिसँगै मानिसमा चिन्ता पनि थपिएको छ । ‘ग्लोबल टाइम्स’ सँगको कुराकानीमा चिनियाँ विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता चाङ कान भन्छन्, ‘सबैले स्माइलिङ डिप्रेसनका बिरामी चिन्न सक्दैनन्, बिरामीका नजिकका मान्छेले भने उसको व्यवहारमा आएको परिवर्तन थाहा पाउन सक्छन् ।’
बारम्बार सामाजिक सञ्जालमा नोटिफिकेसन र म्यासेज चेक गर्ने बानी पनि डिजिटल कुलत बसेको संकेत हो । ‘यूएसए टुडे’ सँगको कुराकानीमा डा. साहला मोदिर भन्छिन्, ‘प्रत्येक घण्टा नोटिफिकेसन, म्यासेज हेर्नुले तपाईंको पेसा र सामाजिक सम्बन्धलाई नै असर पुर्‍याउँछ । ‘लाइक’ ले त झन् धेरै दुर्व्यसनको सिकार बनाउँछ, लाइक खोज्ने बानीले हाम्रो शरीरमा डोपामाइनको मात्रा घटाउँछ ।’ शरीरमा डोपामाइन र सेरोटोनिनजस्ता रसायनको मात्रामा कमी आएमा मान्छे सामान्यतः सुस्त, नकारात्मक र चिडचिडे भई क्रोधको सिकार हुनपुग्छ ।
प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम र टिकटकमा पैसा नतिरे पनि कम्पनीले अर्बौं डलर कमाइरहेका
छन् । उनीहरूले हाम्रो डेटा बेचेर कमाएका पनि होइनन्, हाम्रो विचार, विश्वास र बानीलाई चलाखीपूर्ण तरिकाले बदलेर उनीहरू पैसा कमाइरहेका छन् । सेन्टर फर ह्युमन टेक्नोलोजीका अध्यक्ष तथा सहसंस्थापक ट्रिस्टन ह्यारिस सामाजिक सञ्जाल संयोगवश दुर्व्यसनको स्रोत नबनेको राय राख्छन् । ‘हामी सामाजिक सञ्जाल लगआउट गर्न सक्दैनौं । किनकि हामीलाई यसको लत लागिसकेको छ । कम्पनीले चाहेको पनि ठ्याक्कै यस्तै हो । संयोगवश यो अम्मली बनेको होइन, यो बनाइएको नै यसैका लागि हो ।’ ह्यारिसले केही वर्षअघि ‘सीबीएस न्युज’ को ‘सिक्स्टी मिनेट्स’ मा एन्डरसन कुपरसँग भनेका थिए, ‘तिनीहरू (सामाजिक सञ्जाल कम्पनी) ले मान्छेलाई प्रोग्रामिङ गरिरहेका छन् । प्रविधि तटस्थ हुन्छ भन्ने गरिन्छ, प्रयोग कसरी गर्ने भन्ने हामीमै निर्भर छ भनिन्छ, तर वास्तवमा त्यति मात्र साँचो होइन ।’
कसैले ‘फ्रेन्ड रिक्वेस्ट’ वा ‘लाइक’ पठाएमा नीलो संकेत देखिने गरी डिजाइन बनाइए पनि फेसबुकले अन्ततः रातो रङ (ध्यान तान्ने रङ) छान्यो, जसका कारण क्लिकको मात्रा बढ्यो ।
घरकै विषयमा कुरा गर्नुपरे पनि फेसबुकमा देखेको, इन्स्टामा देखेको भन्नुपर्ने अवस्था छ । कुराकानी हुन छाडेको छ । परिवारकै सदस्यसँग पनि कुराकानी गरिँदैन । केही दिनअघि मेटाले ट्वीटरजस्तै थ्रेड्स लन्च गर्‍यो । केही घन्टामै त्यसमा लाखौं प्रवेश गरे । आखिर किन ? एउटै मान्छे फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक, थ्रेड्स, स्न्यापच्याट, ह्वाट्सएपमा समय बिताउन भ्याइरहेको छ वा उपस्थिति जनाइरहेको छ ? कुनै एक सञ्जालमा नभए सबैथोक गुमाउँछौं भन्ने हामी सोचिरहेका छौं । तर, हामीले केही गुमाइरहेका छौं भने त्यो हो– कुराकानी, छलफल र विमर्श । ‘भर्चुअल’ संसारमा हामी रमाइरहँदा हाम्रा नजिकका आफन्त, छरछिमेकी र साथीसंगी बिर्सिइरहेका त छैनौं ?
हामीमध्ये कतिले अहिले म्यागजिन, पत्रपत्रिका र पुस्तकलाई समय दिइरहेका छौं ? सामाजिक सञ्जालमा आइरहेको सूचनाको बाढीमा हराइरहेका त छैनौं ? त्यसैले ब्लगर र विश्लेषक एन्ड्रयु सुलिभानले सन् २०१६ मै ‘न्युयोर्क’ म्यागजिनमा लामो आलेख लेखेका थिए, ‘म मान्छे हुने गर्थें’ शीर्षकमा । उनको लेखको सार थियो, ‘समाचार, गसिप र तस्बिरको अन्तहीन बमबारीले हामीलाई सूचनाको अम्मली बनाइदिएको छ । यसले त मलाई चकनाचुर बनाइदिएको छ, तपाईंलाई पनि बनाउन सक्छ ।’
पुस्तक पढ्ने, लेख्ने, हिँड्ने, साथीसंगी, आफन्तजनसँग भेटघाट गर्ने केही नयाँ कुरा सिक्ने ! मान्छे बन्नु छ भने चाहिएका बेलाबाहेक सामाजिक सञ्जालबाट बाहिर आउनुहोस् । एमआईटी प्राध्यापक सेरी टर्कल ‘रिक्लेमिङ कन्भर्सेसन’ मा भन्छिन्, ‘मुखामुख भएर कुराकानी गर्नु मान्छेको स्वाभाविक बानी हो । म प्रविधिविरोधी होइन, यसलाई स्मार्ट तरिकाले प्रयोग गर्नुपर्छ भन्ने मेरो विचार हो ।’
वास्तवमा प्रविधिले हामीलाई कतिपय कुरामा सहज बनाइरहँदा हाम्रो सोचाइलाई बन्धक त बनाइरहेको छैन ? प्रविधि र सामाजिक सञ्जालमाथिको निर्भरता बढिरहेको छ, सँगसँगै यसको कसरी सदुपयोग गर्ने र यसबाट कसरी लत हटाउने भन्ने उपाय पनि सुझिइरहेका छन् ।
‘डिजिटल डिटक्स’, ‘डिजिटल फास्टिङ’ ले काम पनि गरिरहेको छ । ‘डिजिटल डिटक्स’ प्रविधिको कुलत हटाउने उपाय हो, जसमा मोबाइलको नोटिफिकेसन बन्द गर्ने, खाने समयमा फोन प्रयोग नगर्ने, परिवारसँग हुँदा, हिँड्दा, सुत्नुअघि मोबाइल नहेर्ने, ओछ्यानबाट टाढा राख्ने, सुत्नुअघि मन लागेका पुस्तक वा केही पढ्नेलगायतका उपाय अपनाइन्छ । त्यस्तै ‘डिजिटल फास्टिङ’ आफूलाई ‘डिजिटल डिभाइस’ बाट ‘अनप्लग’ गर्ने अर्थात् छुटाउने काम नै हो । जसरी मानिसहरू स्वस्थ शरीरका लागि साताको कुनै दिन निराहार वा फलफूल वा हल्का खाना खाएर व्रत बस्छन्, त्यसरी नै पछिल्लो समय मानसिक स्वास्थ्यका लागि ‘डिजिटल फास्टिङ’ अर्थात् प्रविधि उपवासको अवधारणा आएको छ । हप्ताको कुनै दिन वा महिनामा कुनै हप्ता मानिसहरू स्मार्टफोन, ट्याब्लेट, ल्यापट्यापबाट टाढै बसेर प्रविधिसँगको स्वस्थ सम्बन्ध बनाउने प्रयास भइरहेको छ । केही वर्षमै हामी प्रविधिप्रति यति निर्भर भइसक्यौं कि अब यसबाट छुटकारा पाउन विभिन्न उपाय खोज्नुपरेको छ ।
सामाजिक सञ्जालले हामीलाई एकअर्कासँग जोड्ने नाममा तोडिरहेको भान हुन्छ । फेसबुकले आफ्नो उद्देश्यमा भनेको छ, ‘हाम्रो उद्देश्य मानिसहरूलाई समुदाय निर्माणका लागि शक्ति दिने हो ताकि विश्व अझ नजिक आओस् ।’ सामान्य रूपमा हेर्दा यो सकारात्मकै लाग्ने सहप्राध्यापक क्याल न्युपोर्टको भनाइ छ, ‘उनीहरूले तपाईंलाई तिनीहरूको इकोसिस्टममा प्रवेश गरेर सेयर र कनेक्ट भइराख्नुस्, अनि राम्रो भइहाल्छ भन्ने सन्देश दिएका छन् ।’ न्युपोर्ट सामाजिक सञ्जाल होस् वा अन्य विद्युतीय प्रविधि, तिनलाई आवश्यकताअनुसार छनोट गरेर मात्र चलाउनुपर्ने सुझाव दिन्छन् । उनले पुस्तकमा कसरी सामाजिक सञ्जाल वा मोबाइलबाट टाढा बस्न सकिन्छ भन्ने विभिन्न उपायसमेत सुझाएका छन् । केही समय सामाजिक सञ्जालबाट छुट्टी लिने, घुम्न जाने, अन्तरक्रियाहरूमा सहभागी हुने, परिवारलाई समय दिनेलगायतका उनका प्रयोगात्मक सुझाव छन् । अमेरिकाको अमिस समुदाय विद्युतीय प्रविधिको अति न्यून प्रयोगबाट कसरी चलिरहेको छ भन्ने उदाहरण पनि उनले प्रस्तुत गरेका छन् । अमिस समुदायकी एक महिला भन्छिन्, ‘स्मार्टफोन नचलाउने निर्णयले मलाई एक प्रकारको स्वायत्तता दिएको छ । मैले मेरो जीवनमा प्रविधिले खेल्ने भूमिकालाई नियन्त्रण गरिरहेको छु ।’
सामाजिक सञ्जालको फाइदै नभएको पनि होइन । टाढाका साथीसंगीसँग कुराकानी गर्न होस् वा व्यावसायिक जीवन नै यसैमा जोडिएका व्यक्तिले त यो चलाउनै पर्‍यो । नत्र बेकामे भएर असीमित स्क्रोलिङ गरिरहनु वा मोबाइलमा घोप्टिरहनु भने अम्मलै हो । त्यसैले सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे तपाईं कोसँग कुरा गर्नुहुन्छ, त्यस्तै उत्तर आउनेछ । पिर्ट्सबर्ग विश्वविद्यालयका ब्रायन प्रिम्याकलगायतले गरेको अनुसन्धानले पनि जति सामाजिक सञ्जालमा भुलियो त्यति नै धेरै एक्लोपन बढ्दै जाने देखाएको छ ।
सामाजिक सञ्जालको अम्मलबाट बाहिर आउन केही घरायसी सीप सिक्न पनि न्युपोर्टको सुझाव छ । मोटरसाइकलको सामान्य मर्मत, सामान्य बुकसेल्फ, फर्निचर मर्मतलगायतका काम सिक्दा उपयोगी मात्र होइन, समयको सदुपयोगसमेत हुन्छ ।
कोही बिरामी भएमा सामाजिक सञ्जालमा ‘गेट वेल सुन’ भन्छौं हामी । कसैले आफन्त गुमाए पनि ‘आरआईपी’ वा ‘हार्दिक समवेदना’ फेसबुकबाटै लेखिदिन्छौं । तर, हामीमध्ये कतिले भेटेरै स्वास्थ्यलाभको कामना गरेका छौं वा समानुभूति प्रकट गरेका छौं ? यो गम्भीर प्रश्न छ ।
फेसबुक, ट्वीटर, टिकटक, स्न्याप्च्याट’ लगायतका एपलाई सामाजिक सञ्जाल बनाउने कि जन्जाल ? त्यो हाम्रै हातमा छ । यसबाट कमाल गर्ने वा अम्मली बन्ने ? त्यो पनि हाम्रै हातमा छ । जसरी सामाजिक सञ्जालको अम्मलमा फस्न समय लागेन, गफगाफको पुरानै शैलीमा फर्किन पनि धेरै समय लाग्दैन ।

Page 10
कोसेली

क्षितिजकी मायालु मनपन्छी

- राजकुमार बानियाँ

 

मेरा निम्ति प्रतीक्षित कवि हुन्, रमेश क्षितिज । उनी आजको दिनमा कविता पढेजस्तो अनुभूति दिन सक्षम एक काव्यसाधक हुन् । मलाई प्रशंसक वा पाठक, जेसुकै भन्नुस्, तपाईंकै मर्जी । उनी कविताका नाममा कवितै लेख्छन् । कविताकै गुण र गरिमा बढाउँछन् ।
हाल सालै हरियो जिल्दवाला क्षितिजकृत काव्यकृति ‘पर्वत पर्वतमा बटुवा घाम’ मा ‘झरीमा मनपन्छी’ र ‘अन्तर्यात्रा’ पढ्दा कताकता आफ्नै मनको झंकार सुनेजस्तो भइरह्यो । मनको आँगनमा खुसीको मयूर छमछम नाचिरह्यो । वर्षौंअघि आफैंबाट चोइटिएको एउटा काव्यिक झिल्को फर्किएको भान भइरह्यो ।
एक दशकअघि कवि रमेश क्षितिजलाई अर्का कवि मनु मञ्जिलले अहिलेसम्मकै ‘बेस्ट कम्प्लिमेन्ट’ दिएका थिए– कविताको भाषा फर्काएर ल्याउने कविका रूपमा । आज पनि भन्ने त्यही हो । त्यसैले त्यो पाठ दोहोर्‍याऊँ, ‘...गएका केही दशकहरूमा हाम्रा थोरै कवितामा बाहेक साँचो कविताको भाषा थिएन । बरु कविता कथाले माग्यो, उपन्यासले माग्यो, गीतले माग्यो । तर कविता स्वयम् चाहिँ अरूलाई कपडा बाँड्दाबाँड्दै आफैं नांगिएर भागेको कुनै मिथकको उदार सम्राट् जसरी बाँचिरह्यो ।’
‘कविताको भाषाको जिकिर कुनै कठिन र दस ठाउँ टालेको भाषाको आग्रह होइन । सौन्दर्य र सामर्थ्यका कारण इतिहासभरि प्रतिष्ठित कविता पछिल्लो समयमा आएर स–साना कुण्ठा र विरह व्यक्त गर्ने मरन्च्याँसे भरियाको काम गर्ने भयो । प्रत्येक कवितामा उनले यो देशको काव्यको सरल तर रहस्यमय, मौन र शालीन भाषाको उपयोग गरेका छन् । कविले कविताले हराएको भाषा आफ्नै मौनतासम्म पुगेर, खोजेर, फर्काएर ल्याएका छन् ।’
यहाँ एकथरी कवि–समालोचक मुक्तात्मालाई समेत मार्क्सवादी, समाजवादी, पुँजीवादी, विम्बवादी आदि के जाति मामुली साइनबोर्ड झुन्ड्याइदिन मरिहत्ते गर्छन् । विशिष्ट कवि रमेश क्षितिजलाई त्यस्तो कुनै साइनबोर्ड चाहिँदैन । उनका कविता स्वयं लोकलभन्दा युनिभर्सल, सामयिकभन्दा शाश्वत, तात्कालिकभन्दा सर्वकालिक हुने काव्ययात्रामा छन् । हरेक पुस्ताका पाठकमा मानवीय प्रेम, एकता र सकारात्मक ऊर्जा भरिरहने यी कवितालाई भूतपूर्व हुने छुट छैन पनि ।संसारभरि विभिन्न कालखण्डमा कविता रचिए । शासकहरूले कवितालाई राजनीतिको अधीनस्थ राख्न नखोजेका होइनन् । तर, कविहरूले त्यसको छाया पर्न नदिएकाले विश्वमा महान् साम्राज्यहरूको पतनपछि पनि कविता युगयुग बाँचिरहेकै छ । खासमा कविताले क्रान्ति गर्नेभन्दा पनि मन परिवर्तन गरिदिने रहेछ ।
नेपाली कवितालाई राजनीतिले रातै पारेको छ वा रित्तै पारेको छ ? यो बहसको विषय होला । राजनीति भीडको पछि लाग्छ भने कविता भीडलाई छाडेर एक्लिन्छ । क्षितिजका कवितामा इतिहास, स्मृति, परम्परा, आधुनिकता, समकालीनता र कालबोध छ । यी कविताको रसास्वादनमा कुनै पनि समय बाधक हुनेछैन । रमेश क्षितिज बागीभन्दा जोगी हुन रुचाउने कवि हुन् ।
कविता कवि स्वयंको आत्मकथन हो । तर, हामीकहाँ कविता विधा नै निरन्तर रिपोर्टिङमा रमाउँदो छ । कविताका नाममा कुनै घटनाको विवरण ठाडै, मुखेन्जी वा प्रत्यक्ष प्रतिक्रियात्मक शैली चलनचल्तीमा छ । मिडियाको समाचार, प्रहरीको मुचुल्का वा इतिहासका पाठलाई यी कविताले पछ्याएका छैनन् ।
त्यो लोकगायक नदी हुन सकिनँ,
जससँग थिए हृदय हुने गीतहरू
त्यो आदिकवि सूर्य पनि त हुन सकिनँ
जसले लेख्थ्यो, घामका उज्याला पंक्तिहरू
त्यो कलाकार चरा हुन सकिनँ
जसले बनाउँथ्यो, आफ्नै सीपले कलात्मक गुँड ।
(एउटा मूर्तिको आत्मसंस्मरण)

प्राञ्जल भाषा र नवीनतम शिल्प सजावट रमेश क्षितिजका काव्यिक चिनारी हुन् । पुस्तकको नाममै कविता छ । सचिन यगोल श्रेष्ठको आवरणचित्रमै पनि उम्दा कवित्व झल्किन्छ । क्षितिज यसमा पर्वत–गायक भएका छन् । पर्वतलाई उनी ज्ञान, रहस्य, साहस, अध्यात्म र सौन्दर्यका आद्यविम्ब मान्छन् ।
उनलाई कविताभित्र मात्र होइन, शीर्षक पनि कविता नै चाहिन्छ । ‘उदास भइरहेको अभिन्न मित्रसँग पाटनको एउटा क्याफेमा एक दिन’, ‘एकालाप ः रूखमुनि बिसाएको एउटा बटुवाको’, ‘रानीमहल बाहिर उभिएको एक यात्री’, ‘आफैंबाट हराएकी सिल्भियालाई एक कोमल प्रश्न’ यसका दृष्टान्त हुन् । एक–दुई शब्दका त शीर्षक अब क्लिसे भइसके ।
बडा सुकिला र आला छन् क्षितिजीय विम्बहरू । टाँक झरेको पुरानो कोटझैं भएका सम्बन्धहरू । चौतारीलाई सिरान लाएर पल्टेको गोरेटो । हरियो पासपोर्ट गोजीमा राखेर हराइरहेका लाखौं योगनरेन्द्रहरू । उनी भेटिएला छाया हिँड्दाहिँड्दै कहीं फेरि बाटो दोबाटोमा भन्दै मौनताको गुञ्जन सुन्छन् । एकालापको ग्रन्थमा एकाग्र हुन्छन् ।
यी कविलाई ठूलोभन्दा पनि ठूलो हुन्छ, सानो कुरा । उनी भीडमा आफ्नो अनुहार या परिचय खोजिरहेका छन् । मानिसलाई फगत पृथ्वीरूपी संग्रहालयको फगत पर्यटक मानेका छन् । यसमा सूक्ष्म भाव, संवेदना र अन्तरदृष्टि छ ।
क्षितिज भौतिक भुइँचालो मात्रै नभएर मनलाई केन्द्रविन्दु बनाएर पटकपटक गइरहने आफैंभित्रको भुइँचालोलाई समेत महसुस गर्छन् । अशक्त बाबुआमा र नवविवाहित भार्यालाई दुर्गम गाउँमा छाडेर परदेश उड्न तयार श्रमिक युवाहरूको लस्करले पनि कविलाई बिथोलेकै छ । कोरोना महामारीमा मास्क लगाएको मानिसको दुःख त छँदै छ, नारीमुक्तिको अटुट कामना पनि छ ।
ऐना हेरेर बस्दाबस्दै
हो, ऐनामा/मुस्कुराउँदा मुस्कुराउँदै
अचानक एक दिन
फुत्त बाहिर निस्कन्छ तिम्रो आफ्नै प्रतिविम्ब
र, विद्रोहको स्वरमा भन्छ –
यसरी सधैं र सधैं कैदी भएर कहाँ सकिन्छ बस्न !
अटाउँदिनँ यो साँघुरो फ्रेममा म,
अहो ! एक युगदेखि उकुसमुकुस भएर
मुक्ति खोजिरहेकी – के त्यो तिमी थियौ ? (स्त्री)

आम कवि बाहिरी संसारमा कविता खोज्छन्, तर रमेश क्षितिज आफैंले आफैंलाई खोज्ने वा चिन्ने कविता लेख्छन् । अध्यात्मशास्त्र अनुसार पृथ्वी, जल, वायु, अग्नि (तेज) र आकाशबाटै मानवरचना भएको हो । यस संग्रह पनि आकाशगंगा, अग्निउत्सव, जलतरंग, वायनृत्य र भू–यात्रा गरी पाँच भँगालोमा बाँडिएको छ ।
मनु मन्जिलले भनेजस्तै हाम्रा कविता दुःख, निराशा, हीनता, कुण्ठा र घृणाका मसलाले चुलिएका छन् । त्यस्ता कविता पढ्दा अनिद्रा, अवसाद र एक्लोपन अझै बढ्ने छन् । आजका व्यथित मनुवालाई आत्मिक शान्ति र अन्तस्करणमा जीवन्त ऊर्जा भर्ने काव्यथेरापी दिने सामर्थ्य क्षितिजका कवितामा छन् ।
हो एक्लोपन, निराशा, अन्याय, असमानता, गरिबी, बेथिति, विसंगति यावत् छन् दुनियाँमा । तर, रमेश क्षितिज त्यसलाई नै भव्य देखाएर बस्ने कवि होइनन् । जीवन कठिन छ तापनि प्रेम, अध्यात्म, सौन्दर्य आदिमार्फत विषम परिस्थितिमा पनि जीवित रहने उत्प्रेरणा र शक्ति प्रदान गर्छन् भन्ने उनको विश्वास छ ।
दुःख आइपर्दैमा जीवन दुःखमय हुने होइन । त्यो त हामी आफैंले कामकुराको चाँजोपाँजो मिलाउन नसकेर निम्तिने न हो । क्षितिजका कविताले भनेजस्तै जीवन र प्रकृति धन्य छन् । जस्तोसुकै अवस्थामा पनि आशाको अरुणोदय पर्खने कविको जिकिर छ– विषालु जीवन पनि पीयूषदर्शी बन्न सक्छ ।
क्षितिजका कवितामा दया, माया, प्रेम, ममता, करुणा, स्नेह, सौजन्य, क्षमता, सहनशीलता, धीरता, स्थिरता, सदिच्छा, सत्प्रयास, सद्ज्ञान, सद्धर्म, सत्कर्तव्य इत्यादि प्रसाद गुण छन् । उनको कविताकर्मको लक्ष्य नयाँ सौन्दर्य खडा गर्नु हो । भाषामा लालित्य अनि शिल्पमा सौष्ठव थप्नु पनि हो । अर्को शब्दमा सत्यं शिवं सुन्दरंको स्वर सिँगार्नु हो ।
यी कवितामार्फत क्षितिजले विमुग्धकारी सौन्दर्यको प्रतिमान खडा गरेका छन् । चाहे त्यो मानवीय सौन्दर्य होस् वा प्राकृतिक । ती आनुभूतिक सौन्दर्यले चाक्षुषीय तृप्ति दिन्छन् । पाठकलाई फराकिलो अँगालो दिन्छन् । मानसिक निर्मलता, वैचारिक पवित्रता, वाचिक मृदुलता, आचरणगत सात्विकता आदि पनि उनको काव्यिक किल्लाभित्रै छन् ।
रमेश क्षितिजको काव्यशैली किन अलग छ भने उनी आत्मबोधका साथ नवीन, तरोताजा र तीव्र आस्वाद्य कविता लेख्छन् । प्रकृतिको मानवीकरण गर्छन् । मानवको प्रकृतिकरण गर्छन् । कविको स्पर्श अद्भुतै हुन्छ । त्यो चमत्कारी मसीका कारण कहिले प्रकृति मानव बन्छ त कहिले मानव प्रकृति बन्छ । प्रकृति मानवको चिर सहचरी न हो ।
रमेश क्षितिजलाई पढ्दा लाग्छ, कविता र कठोरता सँगसँगै बस्दैनन् । कविता र कृत्रिमता पनि सँगसँगै रहँदैनन् । व्यक्ति र कृतिबीच हाडनाता हुन्छ । ५३ थान कविताभरि त्यो आभास भइरहन्छ । क्षितिजका कविता एकछिनका लागि होइन, सधैंका लागि, जीवनका लागि हो ।
‘पर्वत पर्वतमा बटुवा घाम’ का कविताहरूभित्र प्रेम, मानवता, कल्याण र न्यायका लागि गाइएका मंगल गीत वा पवित्र प्रार्थना छन् । स्वप्नदर्शी हृदयको आवाज अनि जीवनमन्त्र छन् । प्रकृति, जीवन र रहस्यहरूसँगका साक्षात्कार छन् । कविता जीवनलाई उत्सवमय बनाउन अन्तरंग साथी बनोस् भन्ने क्षितिजको आग्रह छ । र, यिनले क्षितिजको असाधारण काव्यकारिताको प्रमाण दिन्छन् ।
‘अर्को साँझ पर्खेर साँझमा’ (२०५७), ‘घर फर्किरहेको मानिस’ (२०६९), हुँदै ‘पर्वत पर्वतमा बटुवा घाम’ (२०७९) सम्म आइपुग्दा रमेश क्षितिज समकालीन नेपाली कविताको एउटा चुचुरो बन्न पुगेका छन् । तर, उनका कविता हस्याङफस्याङमा भन्दा फुर्सदमा पढ्न जाती हुन्छ । भीडभाडको भन्दा एकान्तको साथी बनाउनु श्रेयस्कर हुन्छ ।
कविलाई प्रशंसा त चाहिन्छ । तर, अचाक्ली प्रशंसा चाहिँदैन । क्षितिजका कवितामा यदाकदा पुनरुक्ति या द्विरुक्ति दोष भेटिन्छन् । आफ्नै पूर्ववर्ती कवितामा प्रयोग भइसकेका विम्बहरू हुबहु दोहोरिएको छ । रमेश क्षितिजजस्ता कवि यसमा सचेत भएकै जाती । कविताको पुछारमा टीका या फुटनोट अनिवार्य थिएनन् । तिनले पाठकीय स्वतन्त्र धारणालाई कुण्ठित गरिदिन्छन् । किनभने कविको साधिकार शब्दमा मात्र छ, अर्थमा छैन ।
जहाँ पुग्छु/पुग्छु भनेर बग्ने त – गण्डकी हो
बाटो हिँड्नलाई पुग्ने मुकाम छ – जिन्दगी हो ।
(मन्दिरको घण्टी)

कोसेली

बिस्का : जात्रा मनाइने देशमा एक मिथकीय प्रेम

- रामगोपाल आशुतोष

 

सुन्नेबित्तिकै
तिमी आउने खबर
ढकमक्क फुल्न हतार भयो लिली फूललाई

सागै बसेर झोक्राइरहेका
जिरेनियमका
कानजस्ता पातहरू उठे हरियाली बोकेर
केही लजाउादै फुले
र, हिमालको घामले छोएको
शेर्पिनी छोरीको गुलाबी गालाजस्तै फक्रिए

त्यसपछि सुनाइदिएा तिम्रो नाम
पहोलो–सेतो फुलिरहने जाहीजुहीलाई पनि
भुइाभरि छरिएर आतुर भए
तिमी आउने बाटोमा स्वागतालु बन्न ।

आँगन वरपरका
असरल्ल फैलिएको जिद्दी धूलो
सुनिरहेको थियो जूनकीरीहरूको गन्थन
सायद लाजले होला
सहयोग माग्यो छिमेकी हनुमतीको पानीसाग
र, अनुरोध गर्‍यो पखालिदिन आफूलाई

कुनाकाप्चामा
बिनाअनुमति उम्रिन आउने झारहरूले पनि
बेसोमती मानेर होला
गुहारे घाासीलाई र सिनित्त पारिदिन अनुरोध गरे ।

तिमी आउने अक्षांशले
मनाइरहेको थियो– विस्काः जात्रा ।

पााचतले र सिद्धपोखरी वरपर सूचना टाासेर
सार्वजनिक गरो तिम्रो नाम र तस्बिर ।
जुजु धौको देशका
कानकानमा पुगेपछि तिमी आउने खबर
बेताललाई अघि लगाएर
भैरवले
धिमे, खिं, दाफा भजन, सांस्कृतिक टोलीसहित
तिम्रो स्वागतार्थ आउने प्रेस विज्ञप्ति सार्वजनिक गरे ।

मेरो भूगोलको मूःस्वााले
तिमीलाई
आफ्नो सुगन्धको अत्तर अर्पिने जिम्मा लियो ।

तिमी आउने थाहा पाएर नाय्खिंमार्फत
नाचहरूको देशका
सम्पूर्ण कलाकारहरू लामबद्ध भए नृत्यमुद्रामा

विश्वकै अग्लो ध्वजामाथि चढे
वसन्तको बताससाग बयली खेलिरहेका नागनागिनी

व्यग्र प्रतीक्षामा थिए इन्द्रकमल फूलहरू,
सङ्गै थिए अङ्गरक्षक बेताल,
सहकालका देउता भैरव, भैरवी र यसिंद्यो ।

सहकाल प्रतीक्षित
हजारौं किसान, मजदुर, श्रमिक र जनसाधारण
हलिंपतको इसारा पर्खिरहेका थिए
गाउन
तिमी आउनेबित्तिकै राग भैरवी ।

तिम्रो बाटो हेर्दाहेर्दै थाक्यो विश्वध्वजा– यसिंद्यः
पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशातिर– झकाउन थाल्यो
तिम्रो आगमनको पहिलो पाइला पर्खंदा पर्खंदा
निदायो विश्वध्वज र ढल्यो जमिनमा !

त्यसपछि
रिसाएर फर्किइन् भैरवी
निदाएर लडेको विश्वध्वजलाई एक्लै छोडेर
निराश फर्किए
भैरव आफ्नै बासस्थान टौमढीतिर ।


धिमे, बाासुरी, मादल आदिको धुन मधुरो हुादै गयो
कलाकारहरूको मुद्रा परिवर्तन भयो
सबैको पर्यावरणमा छायो मौनता !

मैले प्रायः सपनामा देखिरहने
भोकको समाधान,
समता, समान–समृद्धि, सहकाल वा समाजवाद
कोही पनि आएनन्
त्यो वर्ष !

सबैले ढाँटेका रहेछन्
तिमीले जस्तै !

कोसेली

एउटा बिरालोको आत्मालाप

- कुमारी लामा

 

मानिस–जनावर सम्बन्धको बेगिन्ती पोया फुकाउनु जोकसैको वशको विषय होइन । त्यस्ता सम्बन्ध एकातिर संवेदनाको वकालत हुनसक्छ भने अर्कोतिर मानव दम्भको प्रकटीकरण । लैनसिंह बाङ्देलको ‘लंगडाको साथी’ ले उजागर गरेको कुकुर र एक अपाङ्ग पात्रको सम्बन्धको गहिराइ अथवा जर्ज अर्वेलको ‘सुटिङ एन एलिफेन्ट’ मा देखाइएको एक हाकिमको दम्भको पराकाष्टामाझ हजारौंको नजारा बनेको हात्तीको दर्दनाक मृत्यु–दुवै मानिस र जनावरबीचको सम्बन्धकै पाटाहरू हुन् ।
यस धर्तीमाथि आफ्नै मात्र दाबी गर्ने मानिस सधैं अरूलाई अधीनमै राख्ने प्रयत्न गर्छ । त्यसमा सहोदर सहयात्रीदेखि पशुजगत र प्रकृति सबै परेका छन् । यो बेमेलीय अन्तरसम्बन्धमा शक्तिको चलखेल प्रस्टै देखिन्छ । शक्ति, फगत एक शब्द या अमूर्त अभिव्यक्तिमा सीमित रहन्छ त्यतिन्जेल जुनबेलासम्म त्यो प्रयोगमा आउँदैन । त्यसैले माइकल फुको शक्तिको अस्तित्वलाई प्रयोग (एक्सन) सँग जोड्छन् । ‘प्रयोगसँग मात्र शक्तिको अस्तित्व हुन्छ’ भन्ने फुकोको भनाइ मानव समाजलाई नियाल्दा छर्लंग
हुन्छ । तथापि यसको प्रयोग र प्रभुत्व मानवेतर जीवमा पनि उत्तिकै देखिन्छ । ठूलो कुकुरको टोले दादागिरीदेखि घरको पुरा टिप्न बेगिएको कागलाई लखेट्न आतुर घरपालित साना कुकुरसम्म आ–आफ्नो रवाफ र शक्तिको प्रदर्शनी गर्छन् । ज्यादातर पशुजगत्मा भने शक्तिको प्रयोग जीवन चक्रीय नियम पालनाको खातिर भएको देखिन्छ । एकअर्कामा आश्रित जीवहरूको एक विशाल चक्र जो छ प्रकृतिमा, त्यसअलावा कमजोरलाई हेप्ने चलन पनि प्राकृतिप्रदत्त गुण हो । सडकहुँदी बरालिइहिँड्ने भुस्या कुकुरमध्ये पनि घच्चीकाले लुते च्याँसेलाई लघारेको दृश्य वालछ्याल देखिन्छ जताततै ।
मानिस र घरपालित जनावरको सम्बन्धलाई मसिनो गरी केलाउने कार्य संवेदनशील व्यक्ति या उनीहरूसँग ज्यादा घुलमिल हुनेहरूले गर्छन् । यस मामलामा लेखकहरू निकै अघि देखिन्छन् । त्यसैको परिणामस्वरूप जुगजुगान्तर मानिसको अनुस्मृतिमा रहने कृतिहरूको सृजना भएको छ । विश्व साहित्य (नेपाली साहित्यसहित) मा मानव–जनावर सम्बन्धलाई विभिन्न किसिमले प्रस्तुत गरिएको छ । जस्तो लेभ तोल्सतोयको कथा ‘यार्डस्टिक’ ले वेवास्तामा परेको टाटे घोडा यार्डस्टिकको जीवनी र दृष्टिकोण प्रस्तुत गर्छ । यस कथाले मानव–समाज, मानव–स्वभाव, सगोत्रीको खिसीट्युरीयुक्त व्यवहार, माया, अनि एक्लोपनको फेहरिस्ता अनावरण गर्छ । शक्तिशाली मानिसको असंवेदनशीलता र जनावरको संवेदना, भावनात्मकता र जीवन जगत् चिन्तनको नयाँपन अभिव्यक्त छ यस कथामा । जन्मजातै शरीरमा लिइआएको थोप्लाथोप्लीका कारण ऊ कसैको प्राथमिकतामा नपर्ने बेकाम्मे साबित हुनपुग्छ र एकदिन खसी पारिन्छ । तत्पश्चात् सगोत्रीहरूकै अवहेलना र तिरस्कारपूर्ण व्यवहारका कारण साह्रै मर्माहत र एक्लो हुन्छ । तोल्सतोयले उद्घाटन गरेको यार्डस्टिकको पीडित मनोभावले जो कसैको मन मस्तिष्क कम्पित पार्छ । केही समययता नेपाली साहित्यमा जनावरको विषयमा लेखिएका किताब छापिइरहेका छन् । सञ्जीव उप्रेतीको ‘हंस’, खगेन्द्र लामिछानेको ‘फुर्के’ यसैका उदाहरण हुन् । हालै सुकन्या वाइबाको संस्मरणात्मक कृति ‘म किट्टी बिरालो’ प्रकाशित भएको छ, जसले बिरालो–दृष्टिबाट मानिस र जनावरबीचको स्नेहिल, गाढा सम्बन्ध अनावरण गरेको छ । यस संस्मरणले किट्टीको बाल्यकालदेखि जीवनको अन्तिम अवस्थासम्मको वृत्तान्त समेट्नुका साथै उसले आश्रय पाएको घरको प्रत्येक सदस्यको जीवनको केही अंश पनि उतारेको छ ।
मानवसमाज जातीय, लैंगिक, वर्गीयजस्ता अनेकन् विभेदी जालोमा बेस्सरी जकडिएको सर्वविदितै
छ । पशुजगत्मा भने यसखाले विभेद देखिन्न, तथापि पोथी बिरालो भने प्रजनन क्षमताका कारण हेलामा पर्ने गर्छन् । छाउरी भएकै कारण किट्टी जन्मेको घरबाट नवघरमा पठाइन्छे । आफू जन्मघरबाट परित्यक्त हुनुलाई उसले यसरी बुझ्छे, ‘तर छाउरी बिरालोलाई बच्चा जन्माउने भनेर कसैले मन पराउँदैनन्, कसैले लाँदैनन् । ती दिदीले कसैले पनि नलैजाने म छाउरी बिरालोलाई यस घरमा ल्याइछन्’ (पृ. ११) । त्यसपछि सुरु हुन्छ उसको त्यस परिवारसँगको गजबको सम्बन्ध । माम
(बजु) देखि, पापा–आमा, उनीहरूका साना नानीहरू साथै परिवारका अन्य सदस्यसँगको उसको नाता बिस्तारै झ्याङ्गिँदै जान्छ । मामले सुनाउने अनेक कथा र त्यस परिवारकी विदुषी दिदी (पारिजात) र लामाजी (निर्मल लामा) को प्रसंग उसलाई अति रोचक लाग्छ । किट्टीले विदुषी दिदीको शारीरिक अशक्ततादेखि लामाजीको भूमिगत जीवनको विषयमा पनि मामबाटै थाहा पाउँछे । त्यस घरका सदस्यहरू जनावरप्रेमी भएकाले त्यहाँ आश्रय पाएका कुकुर, बिरालोको सूची लामै छ— किज्जी, कल्टु, मुस्या, आक्रोश, खुकुमणि, काली, ज्वाइँ कुकुर, भलाद्मी कुकुर, किस्ने आदि । कुकुरको नामकरणमा भने विदुषी दिदी सबैभन्दा अगाडि हुन्छिन् । किस्ने उनको सबैभन्दा प्यारो कुकुर । मामकी सातवर्षे नातिनी पनि बिरालोसँग खुब नजिक छिन् । उनैले किट्टीको छोरीहरूको नाम राख्छिन्— तुलसी र
सेती । यस पुस्तकले किट्टीको जन्म, त्यस घरमा प्रवेशदेखि, हुर्काइ, रजस्वला, दुई बेत नानी जन्माएको समय हुँदै जीवनको अन्तिम अवस्थासम्मको वृत्तान्त प्रस्तुत गरेको छ । यस संस्मरणले एकातिर किट्टीको जीवनी भनेको छ भने समानान्तर रूपमा त्यस परिवारको कथा, देशको सामाजिक–रजानीतिक अवस्था र मानिसको जनावरप्रतिको दृष्टिकोण पनि उजागर गरेको छ ।
मानवकेन्द्रित सामाजिक नियम, कानुनभित्र जनावरको अस्तित्वको सवाल प्रायः गौण रहन्छ । बौद्धिक र सर्वश्रेष्ठ प्राणी भएको दाबीसहित मानिसले पृथ्वीेलगायत यस ब्रह्माण्डको एकछत्र भोगचलन गर्ने मात्रै नभई प्रकृति, पर्यावरण र अन्य जीवजन्तुमाथि अधिक दोहन गरिरहेको छ । यस ब्रह्माण्डमा ‘हरेक चीज एकअर्कासँग जोडिएको छ’ भन्ने व्यारी कमनरको सरल, तर अत्यन्त गम्भीर भनाइलाई मनन गर्नुको साटो मानिस दिनानुदिन प्रकृति र अन्य जीवप्रति असंवेदनशील बनिरहेको छ । परिणामस्वरूप मानवअस्तित्वलाई नै सङ्कटमा पार्न सक्ने कोरोनाजस्तो भाइरसको उत्पत्ति र नवस्वरूपहरू फैलिने क्रम जारी छ । मानिसको मालिक प्रवृत्ति, हैकमवादी शैली र प्रभुत्वको अघिल्तिर घरपालित जनावरहरू भने सदा निम्छरो नै ठहरिन्छन् । बोल्ने भाषा नभए पनि घरपतिप्रतिको व्यवहारले उनीहरूको अनुभूति र भावनालाई प्रस्ट पार्छ । तालिमप्राप्त कुकुर, चरा, बाँदरदेखि हात्ती लगायतलाई मानिसले मनोरञ्जनका निम्ति प्रयोग गर्ने गर्छन्, जो निनीहरूको प्राकृतिक अधिकारको हननकै एक स्वरूप हो । किट्टीले मान्छेको हेपाहा व्यवहारदेखि, निर्दयी र स्वार्थी प्रवृत्ति पनि भोगेकी छ ।
कोभिड–१९ को सङ्क्रमण बढेसँगै उसले जहीँतहीँबाट चिसोपना महसुस गरेकी छ— ‘कौसीतिर पुरानो सामान राख्ने ठाउँमा जाऊँ, कालीले भुकेर आउनै दिँदैन । तलतिर जाऊँ, मभन्दा ठूली र बलियो अर्को ढाडी माउ बिरालोले खेद्याखेद्यै गर्छ । कोठामा जाऊँ, पापाले कठालोमा समातेर ‘जा, बाहिर जा’ भनेर निकालिहाल्छन्’
(पृ.५५) । पशु संसारमा ठूलोले सानोलाई खेदो गर्ने त छँदै छ तथापि मानिसले झैं आफ्नो फाइदा र अनुकूलताका लागि प्रयोग गर्ने र प्रतिकूल अवस्थामा बेवास्ता गर्ने निकृष्ट व्यवहार भने त्यता हुँदैन । हरेक कोणबाट मानिस आफ्नो स्वार्थ र आफूलाई केन्द्रमा राखेर व्यवहार गर्ने प्राणी हो, जसका कारण अन्य जीवजन्तु दोहनमा पर्छन् । यस पुस्तकमा किट्टीले अनेकन् सन्दर्भ र प्रसंगसहित मानिस र जनावरबीचको सम्बन्धसाथै त्यस परिवारको माम (बजू), विदुषी दिदी र लामाजीको व्यक्तित्वको अनेकन् पाटा उजागर गरेको छ ।
सुकन्या वाइबाको ‘म किट्टी बिरालोले’ किट्टीको व्यक्तिगत जीवनदेखि उसले आश्रय पाएको घर, समाज र देशकै कथा समेटेको छ । मानिस र घरपालित जनावरबीचको आत्मीय र भावनात्मक सम्बन्धका अनेक पक्षबारे चिन्तन गरिएको यस पुस्तकमा ०३६ सालको सोरोफेरोमा भूमिगत अवस्थामा रहेका लामाजीले लुकीभागी हिँड्नुपर्ने अवस्था, शारीरिक रूपमा अशक्त विदुषी दिदीमाथिको राज्यको लगातारको निगरानीदेखि कोरोना महाव्याधिकालीन समयको त्रासदीपूर्ण भोगाइसम्म एउटा बिरालोको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ ।

Page 11
कोसेली

५३ वर्षपछि थबाङमा नचाउरु

- नवीन विभास

 

गाउँले जमघट भएको थबाङका अन्तिम बुढामगरको खलामा दौरी, मादल, पैजन र झ्याली गुर्कुच्ची गर्दै तन्नेरी हुल पुगेको छ । खलामा पाइला नटेक्दै तिनीहरू चौदिशा भाक्छन्, सिमेभूमे स्मरण गर्छन् । खलामा गोलो घेरा बनाउँदै गुरुको पाउ ढोग्छन् । राम्चेघुम्चेमाझ खासखुस सुरु हुन्छ, ‘गुरुमान चाला ।’ राम्चेघुम्चे अर्थात् दर्शक ।
तन्नेरीले गुथेका सेता पगरी हुँदै चिउँडोसम्म टमक्क बाँधेको थिस्नी चाँदी सिक्काले छपक्क छोपेको छ । सिक्कैले छोपेको छ, ठाउँठाउँमा हातले बुट्टा भरेको मखमलको खयो (चौबन्दी चोलो) को छाती र पिठ्युँनेर पनि । खयो र बे (घाँगर) भेटिएको दोभानमा वाफो (पटुका) ले कसक्क कसेको छ, जसमा दापसहितको यामान खुकुरी तेर्सिएको छ । महँगो कुटेमोरालाई खुकुरीले विस्थापित गरिसकेको छ । तन्नेरीले लबेदा र झुम्का पनि लगाएका छन् । तिनका दायाँ हात कम्मरमा र बायाँ हात माथिमाथि पुग्छन् । बायाँ हातका औंलाले पिलिकपिलिक बत्ती बाल्छन् । झ्यालीको छ्याइछ्याइले याऽमान मादलको गला घाँसेपछि तिनका गोडाका पैजनले धुन भर्छन्, ‘छेर्लाङछेर्लाङ ।’
‘एकसरो सक ख्याने’ चालामा तिनका दुवै हात माथिमाथि पुग्छन्, फनफन फन्का मार्छन् । मादल घन्कन्छ, ‘छ्याउने घिनाउ, छ्याउने घिनाउ छ्याउ ।’ त्यसपछि नाच्छन्— दोहोरो सक ख्याने, एकसरो पल्ने, दोहोरो पल्ने । भालाले घोचेजसरी नाच्छन्— घुमीघुमी घुंचिन्या चाला ।
दयाधन पुन खलामा प्रकट हुन्छन् । नचाउरुलाई दान टक्र्याउँछन् । गुर्बा कर्मजी बुढामगर, दयाजी रोकामगरहरूले मादल, दौरी, झ्याली धुनमार्फत ‘मुन्दरी रैसिने’ चाला देखाउँछन् ।
नाचिरहेका एघार जनामा अगुवा जुगी संघर्ष बुढामगर, जनवाद रोकामगर पनि छन् । कम्तीमा नौजना हुनैपर्ने नचाउरुमा रौली र बाँठा एकेक जना छन् । राइँला अगुवा जोरमन रोकामगर, ङाता सिङारु अच्युत घर्तीमगर र सन्तोष रोकामगर बाँठा हुन् । अगाउरे, पछाउरे, लौरी र सिङारुको छेउमा जुगी छन् । अगाउरेको पछिपछि हिँड्ने मेन बाट्रे जुगी संघर्ष बुढामगर । रौली रोलमा, प्रज्ज्वल बुढामगर र कान्छा पछाउरे रोल निभाइरहेछन् स्टोप झाँक्रीमगरले ।
नचाउरु नाच्ने थबाङी तन्नेरी बीस वर्ष वरपरका छन् । बिजुली बत्तीको आँखाले नचाउरु हेरिरहेका वृद्धवृद्धा ‘हो कि होइन’ को दोभानमा मुखामुख गरिरहेका छन् । माया मारेको मानिस टुकुटुकु हिँड्दै आँखैअगाडि उभिएजस्तो लागेर घरी ‘झ््याङ्जे’ त घरी ‘सेउरे’ पो आयो कि भनेर चनाखिएका पनि
छन् । झ्याङ्जे भनेको मरेको मानिस बाँचेर फर्कनु हो । सेउरे भनेको मरेको मानिस ।
‘ङै त वय जासिन्या’ चाला नाच्छन् । नाच्दानाच्दै बी–बीचमा बगाले आवाज निक्लन्छ, ‘हऽऽऽ।’ नाचकै बीचमा बाँठालाई रौलीले मार्छन् । जोगाउन जोहार्नी गाउँछन् । जुगीले भैरम गाउँछन् । मानिसको सिर्जना उब्जना किस्सा सुनाउँछन् । शास्त्र हाल्छन् । व्यङ्ग्यात्मक पाराले दिनभरको समीक्षा गर्छन् । जस्तो कि, इतिहास पनि जोडेर फलानो ठाउँमा के भयो ? त्यहाँ के रहेछ ? आदि ।
माछा पौडेजसरी नाच्छन्, ‘ङाः रैः सिने’ चाला । नाच्छन् ‘भरे जैने’ चाला । स्थान साटासाट गर्दै ‘बत्ती तन्दे तोः सिने’ चाला । थोरै झुकेर दायाँ हात निधारनेर लगेर दर्शन गर्दै नाच्छन्, ‘ढो याने’ चाला ।
बीचबीचमा नचाउरु बिसाउँछन् । थकाइ मार्छन् । हात जोड्दै राम्चेघुम्चेको पनि मान राख्छन् । यो हो रातको नचाउरु । ‘पूरा नाच नाच्न चार–पाँच घण्टा लाग्छ,’ कर्मजी बुढामगर, दयाजी रोकामगर, कर्मजित बुढामगर, कर्मधन घर्तीमगरहरूका गुरु हुनुका अनुभवको बगाले स्वर सुनिन्छ, ‘बीचबीचमा बिसाउँदै नाच्दाखेरि नचाउरु नाच्न दिनभर लाग्छ । रातभर लाग्छ ।’
त्रिपन्न वर्षअघिसम्म (२०२३ सम्म) मंसिरमा रोल्पा थबाङबाट नाच्दै नचारुहरू रुकुमका गुनाम, लुकुम, तकसेरा, हुकाम, मैकोट पुग्थे । कोल, गर्खान, महत, धर्मराशाला हुँदै दुई महिनापछि थबाङ फर्कन्थे । नाच्दै, गाउँदै फर्कंदा कतिले बिहे गरेका हुन्थे त कतिले सम्धिनी लगाएका । अहिले ? नाच्न माघे संक्रान्ति, चैते र बर्खे दसैं अनि तिहार पर्खन्छन् ।
अचम्म लाग्यो होला, दुई महिनासम्म कम्ता हो त ? रोल्पा–रुकुमतिर भन्छन्, कुनै बेला मगर समुदायका मानिस सात दिन सात रातसम्म पनि गाउँथे रे । नाच्थे रे । गाउँदागाउँदै रात ढल्थ्यो रे, गीतमै दिन ढल्थ्यो रे । निश्चित तिथिमितिमा त्यसरी गाए र नाचेको सम्झनाले नै तिनले वर्ष दिन धानेथे । सायद फेरिँदो अर्थराजनीति समाजसँग तालमेल नमिल्दाखेरि गाउँघरमा किस्सा बनेछ, ‘खाई छिज्या मगर, लाई छिज्या ठाकुर, तिरी छिज्या क्षेत्री ।’ अर्थात्– खाएर सकिएको मगर, लगाएर सकिएको ठकुरी र तिरेर सकिएको क्षेत्री ।
दिनमा नाच्दा नचाउरु नाचका कलाकारले घुँडामुनिसम्मको हापपेन्टजस्तो चरना लगाउँछन् । हातमा ढाल, तरवाली, खुँदा र भुजेली लिएर नाच्छन् । जलौटी, झुम्का लगाएका तिनले गुरमान राखेपछि खिल्नी चाला, डुलाउटे चालापछि खुर्कुम्भ चाला नाच्छन्, जुन चालामा जिम्नास्टिक हान्छन् । तरबारमा उभिएर गुर्गुजी बजाउँछन् । उँधोमुन्टे भएर हातगोडाले पछिल्तिर हिँड्छन् । नाच्दानाच्दै कराते, टेकान्डोजस्तै खेल प्रदर्शन गर्छन् । कुम्ला सिरने चालामा महिला आउँछन् । तिनले कुम्ला सारिदिन्छन् । बझौटे चालामा राम्चेघुम्चेका मान राख्छन् ।
‘२०७६ सालमा तीन महिनासम्म सिकेर नचाउरु ब्युँतायौँ,’ नचाउरु ब्युँताउने मगरात मौलिक कला संस्कृति संरक्षण मञ्च, थबाङका पहलकर्ता अमिट मगर भन्छन्, ‘५३ वर्षपछि ।’
एउटा रैथाने नाच ५३ वर्षपछि ब्युँतिएको छ । कुन सञ्जीवनी बुटीले ब्युँतिएको हो ? एक, ‘जनयुद्ध’ सकिएपछि थबाङमा मानिसका आउजाउ ह्वात्तै बढ्यो । ती कति विदेशी थिए त कति स्वदेशी । अनुसन्धान, दृश्यावलोकन जे गर्न आए पनि तिनले थबाङको रहनसहन, भाषा, साहित्य, कला, संस्कृतिप्रति गहिरो चासो राखे । तिनले यति सोधे कि, थबाङी युवामा पनि रैथाने ज्ञान, कला, संस्कृतिप्रति चासो र चिन्ता चुलियो ।
दुई, थबाङमा कहिलीकसो कराते, बक्सिङ खेल्थे । देखेर बूढापाका भन्थे, ‘नचाउरु नाच्दा यस्ता घुस्सा र लौरा कति हानिम् कति ।’ महिनौं लगाएर सिकेका बड्डाहरूका चिन्ता थियो, ‘हामीसँगै नचाउरु पनि मर्ने भयो ।’ नभन्दै एक दिन त सेर्जाहरू आफूसँगै जलजलामा हात हल्लाइरहेको नचाउरु सम्झेर हलाक् भए, जो नचाउरु नाचेका थोरै बचेका थिए, कति सत्तरी पुग्न हतारिएका त कति नब्बे भेट्न । जोस र शरीर सकुशल कति बचे त ? औंलामा गने– दयाजी रोकामगर, लक्ष्मण घर्तीमगर, हीरालाल रोकामगर, कर्मजित बुढामगर, सुनप्रसाद घर्तीमगर र कर्मधन घर्तीमगर मात्र !
नचाउरु ब्युँताए कसो होला ? मन्थन गरे । तिनले ‘जनयुद्धकाल’ मा हराएको नाम्क (कतै बलपूजा, कतै भूमे पनि भन्छन्) शान्ति प्रक्रियापछि ब्युँताएको ‘नजिर’ सम्झिए । ब्युँताएको नाम्क थबाङमा सकुशल थियो । किन हरायो त, नचाउरु ? पृष्ठभूमिमा के थिए ?
एक, थबाङमा स्कुल, कालापार, भारतीय–बेलायती लाहुरे चलन चर्क्यो । नाच्न सक्ने युवा त कालापार गए । स्कुल गए । लाहुरे भए । को नाच्नु नचाउरु ?
दुई, २०४६ पछि थबाङ, मशाल, एकताकेन्द्र र माओवादी हुँदै, माओवादी भाषामा, ‘ग्रामीण वर्गसंघर्ष’ मा भाग लियो । १० वर्ष लामो ‘जनयुद्ध’ मा थबाङ नै माओवादी ‘मक्का’ बन्यो । थबाङले सुत्दा पनि उठ्दा पनि ‘क्रान्ति’ जप्यो ।
तीन, नचाउरु नाच्न नृत्यकला र खेलाडी गुण हुनुका साथै युवा त हुनैपर्‍यो । ज्याभलिन फाल्ने, लौरा हान्ने, तरबार धारमा हिँड्ने, उँधोमुन्टो भएर उल्टो हिँड्ने कराते र टेकान्डोजस्तो खेल कला जान्नैपर्‍यो ।
चार, तन्त्रमन्त्रका ज्ञान पनि चाहियो ।
पाँच, नचाउरुका लागि बाजा, लुगा र हतियार महँगा छन् । भाङ्ङु रेसा (गाँजा) लुगा विस्थापित गर्ने बजारिया कारखाने लुगा महँगा भए । अमिटका अनुसार, रात र दिनको नाचमा लगाउने पोसाक तयार पार्न झन्डै ३५ हजार पर्छ । आवश्यक हतियार र पोसाक गरी प्रतिव्यक्ति झन्डै ५५ हजार । खयो र चरनामा हातले बुट्टा भरेको हुन्छ ।
आवरणमा जे उल्लेख भए, नचाउरु जटिलताको जग भने अर्थराजनीति थियो । समाज ‘आधुनिक’, ‘सभ्य’ हुन थालेपछि संरचना जटिल भए । नेपालमा दलाल पुँजीवाद पस्यो । आदिवासी जीवनपद्धति बिथोलिँदा तिनका खेल, नाच र काम ‘छुटभिन्न’ भए । जब कि काम नै नाच, खेल बनेथे । सबका सबले पुँजीपतिका दैलो ढकढक्याउन थालेपछि आदिवासी जीवनपद्धतिसँग जोडिएका गीत, नाच र खेल स्वतः हराए । हुन पनि भुइँमान्छेका नाच, खेल हुँदैनन्, ती त सधैं काममै घोटिरहेका हुन्छन् । जबकि कुनै बेला खेल, नाच, गीत काम थिए । इतिहास हराएपछि तिनका खेल, नाच पनि हराउने नै भए । जस्तो ः लिगलिगमा मुक्खे छान्न घलेदौड, खेल हुन्थ्यो । द्रव्य शाहले छल गरी लिगलिग हडपे, खेल खत्तम । भन्नुहोला, घले दौड जारी छ त । अहिले जारी खेलमा आदिवासी सांस्कृतिक पाटो जोडिन्न, मात्र पुरस्कार अर्थात् नगद–नारन जोडिन्छ । जस्तो ः कति लाख पुरस्कार ? हराभरा जमिन जति प्लटिङ गरी हाते रुमाल बनाएपछि रोपाइँ गीत र नाच पनि हराएजस्तै त हो । त्यही हो, नचाउरु ‘नियति’
पनि । बेलायत, भारतजस्ता विदेशीका लाहुरे बन्नुपर्ने, रोजीरोटीका लागि कालापार जानुपर्ने, कहिले पृथ्वीनारायण शाहको त कहिले पुष्पकमल दाहालको सिंहासन दिलाउन लड्नु–मर्नुपर्ने भएपछि कसरी हुन्छ, नचाउरु नजर ?
‘आफूलाई स्वस्थ राख्न पूर्वज नचाउरु नाचे होलान्,’ नचाउरु नेतृत्व गर्दै जुगी भूमिका निभाइरहेका संघर्ष बुढामगर लख काट्छन्, ‘नचाउरु सिक्न र नाच्न गाह्रो त गाह्रै रहेछ ।’ संघर्षहरूले जसरी थबाङको छिमेकी गाउँ रुकुम (पूर्व) भूमेको क्याङ्सीमा नचाउरु ब्युँतिएको छ । ‘तकसेरातिर पनि नचाउरु थियो भन्ने सुनिन्छ,’ नचाउरु अध्ययन गरेका स्थानीय माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक उदय घर्तीमगर भन्छन्, ‘नाचमा लौरा, तरबार, ढाल, खुकुरी आदि हतियार छन् । सिकारी, वारियर भएर नै नाचमा हतियार आए कि ? अध्ययनको खाँचो छ ।’ त्यसबेला आदिवासीका नियमित सेना हुने कुरा भएन । भइपरिआए सबै लड्थे । चाहे बाह्य दुस्मनसित होस्, चाहे जङ्गली जनावरसँग । नचाउरुमा देखाइने मार्सल आर्टका खेल त्यसैका प्रमाण थिए । पञ्चायतको उत्तरार्द्धसम्म पनि मारीखोला शिरका मगर गाउँ नै एक महिनासम्म लौराले लड्ने लडाइँ सिक्न ओखरा पस्थे (हेर्नुस्, सात सय लिगलिगका सीमारेखा, ३० वैशाख, २०८०) । नचाउरुमा माछा खेलेको, घोचाले हानेको अभिनय उनै सम्झना न हुन् । सिकारपछि कृषि र पशुपालन युगमा आएपछिका दिनचर्या पनि त नचाउरुमा छन् ।
रुसका जी. प्लेखानोभ ‘अन्अड्रेस्ड लेटर्स, आर्ट एन्ड सोसल लाइफ’ को ‘थर्ड लेटर’ मा उनले नचाउरुजस्तै रेड इन्डियनको बफेलो डान्स, स्किमोले सिल सिकार, ब्राजिलियन आदिवासीका खेल, नाच उदाहरण दिएका छन् । पहिले काम र त्यसपछि खेल–नाच आए भन्दै उनी नाचलाई ‘कम्बाइन्ड विथ वर्क’ भन्छन् । आदिवासीका ती नाच र खेल त तिनले गरेका कामका प्रतिविम्ब हुन्, तिनले गरेका कामका सम्झनामा सुसाएका (पृ.८०) ।
लाग्ला, नचाउरु ब्युँतेर के इतिहास उल्टने हो र ? बागिना अर्थात् बाजा, गीत, नाचको जगेर्ना भनेको हाम्रो इतिहासको जगेर्ना हो । धिमेसँग हामी नेवारको पहिचान जोडिएको छैन ? नचाउरुमा भाला रोपेको, माछा खेलेको त मगरले कुनै जमाना सिकार गरेर जीवनयापन गरेको प्रमाण होइन ? जस्तो, कोरियाली लोकगीत आरिराङले डुङ्गा खियाउँदै सामान बेच्न जाँदाको ऐतिहासिक व्यापारिक जीवन झल्काइरहेको छैन ? खेल र नाचमा पहिचानको इतिहास लुकेको हुँदैन ? जब आदिवासी जनजाति पहिचानको खोजीमा इतिहास ब्युँतिन्छ तब त्यसका खेल पनि ब्युँतिन्छन्, होइन र ?
५३ वर्षपछि एउटा इतिहास ब्युँतिएको छ, अर्थात् मगरको एउटा खेल नचाउरु ब्युँतिएको छ । इतिहास भनेको शासकहरूले देखाउने खेल मात्र होइन रहेछ, यो त्यतिबेला चाल पाइने रहेछ, जतिबेला शासितहरू आफ्ना खेल देखाउन थाल्दा रहेछन् ।

 

कोसेली

टिम महेन्द्र जब जनतासँग हार्‍यो

- रमेशचन्द्र अधिकारी

 

विसं २०१३, फागुन दोस्रो साताको एक बिहान । हालको धनकुटाको तल्लो टुँडिखेलमा फुटबल खेलिरहेका किशोरहरू एकाएक खुसी देखिए । सेनाका एक कर्नेलले किशोरहरू खेलिरहेको मैदानमै पुगेर सुनाए, ‘राजा महेन्द्र फुटबल म्याच खेल्न राजी छन्, तयार हुनु ।’ त्यो सुनेपछि उनीहरू उत्साही हुँदै खुसीले एकै स्वरमा कराए– हुर्रे... !
टुँडिखेलछेवै थियो, गोकुण्डेश्वर माध्यमिक विद्यालय । त्यसैको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमको निम्तो मान्दै तत्कालीन राजा महेन्द्र शाह त्यहाँ पुगेका थिए । राजासँगै थिए, तत्कालीन आईजीपी नरशमशेर जबरा । भर्खरै जुँगाको रेखी बस्दै गरेका किशोरहरू तन्मयसाथ फुटबल खेलिरहेको दृश्यले नरशमशेरको ध्यान खिच्यो । आईजीपी नरशमशेरले यो दृश्यबारे राजालाई जाहेर गरे । अनि राजा उत्साही भएर आफ्नो टिम बनाएर उनीहरूसँग प्रतिस्पर्धा गर्न तयार भए । यसरी महेन्द्र भर्सेज धनकुटा टाउन टिमको फुटबल प्रतियोगिता जुर्‍यो, जसले धनकुटा र आसपासका क्षेत्रमा फुटबलको महत्त्व मात्रै बढाएन, पूरै जिल्लामा खेलकुदको माहोल बनायो ।
त्यतिबेला राजाको टिमविरुद्ध धनकुटा टाउन टिमबाट मैदानमा उत्रेका खेलाडीहरू उमेरको उत्तरार्द्धमा पुगिसके । तर, त्यो समयको सम्झना सुनाउँदा उनीहरू अहिले पनि उत्साही देखिन्छन् । धनकुटा टिमका खेलाडीमध्येको थिए, तुलसी दिवस, एलपी जोशी, मोतीलाल श्रेष्ठसहितका ११ जना । तुलसी दिवस चर्चित कवि भए । एलपी जोशी ‘रिटिङरिटिङ नबजाऊ बिनायो’ लगायत चर्चित गीत गाएर चिनिए भने मोतीलाल शिक्षाको क्षेत्रमा काम गर्ने शिक्षाविद्का रूपमा स्थापित भए । त्यसबेला धनकुटा टिमका गोपाल दास क्याप्टेन थिए, तुलसी दिवस गोलकिपर । ब्याकमा थिए, गोपाल श्रेष्ठ र एलपी जोशी । जगतबहादुर श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ बीचमा खटिए । मोतीलाल श्रेष्ठ, मदनबहादुर श्रेष्ठ, बद्रीभगत श्रेष्ठ, सुविदबहादुर श्रेष्ठ पनि मैदानमा तयारीका साथ उत्रिए ।
महेन्द्रको टिमबाट फुटबल खेल्न मैदानमा उत्रिएका थिए सेनाका जर्नेल, कर्नेल, मेजरहरू । राजाको टिमका क्याप्टेन तत्कालीन प्रहरीका आईजीपी नरशमशेर भए पनि टिमको नेतृत्व राजा महेन्द्रले गरेको थिए । मोतीलालका अनुसार, राजा महेन्द्र खेल सुरु हुँदा मैदानमा आए । खेलाडीहरूलाई सान्त्वना दिँदै अन्य खेलको जिम्मा दिएर उनी अगाडि रहेको मञ्चमा बसेर खेल हेरिरहे । खेल चलिरहँदा राजाले घरी उठ्दै, घरी बस्दै खेलको मजा लिइरहेको सम्झना खेलाडीहरूमा ताजै छ ।
८७ वर्षीय एलपी जोशी उसबेला महेन्द्रको टिमसँग फुटबल खेल्दाको स्मरण गर्दा अझै पनि उत्साही बन्छन् । उनका अनुसार, त्यसबेला उक्त टिमका खेलाडीको औसत उमेर १७/१८ मात्र थियो । कलिलो उमेरका खेलाडीको उत्साह देखेर राजा र सेनाका उच्च पदाधिकारीसमेत चकित परेको सन्दर्भ उनले सुनाए । राजा महेन्द्रको पछाडि लस्कर लागेर आएका उनका टिमका खाइलाग्दा खेलाडीसामु आफूहरू फुच्चे लागे पनि मनमा निकै जोस रहेको जोशी सुनाउँछन् । उनले हाँस्दै भने, ‘हामीलाई रत्तिभर धक लागेन । बरु कति बेला भिडौं र गोलको वर्षा गरौं भन्ने हतारो लाग्यो ।’
टुँडिखेलको खेल मैदान अहिलेजस्तो व्यवस्थित थिएन । प्याराफिट त कल्पनाबाहिरको कुरा थियो । नजिकको बारीका कान्ला र घरको आँगनमा बसेर स्थानीय दर्शकले खेलको रमिता हेरेका थिए । त्यतिबेला अहिलेजस्तो हुटिङ गर्ने चलन पनि थिएन । त्यस खेलका खेलाडी ८६ वर्षीय मोतीलालका अनुसार, आफ्नो टिमले जितोस् भनेर केही दर्शकले ताली भने बजाएको स्मरण सुनाए । ‘हाम्रो टिमका भन्दा महेन्द्र टिमका आर्मी, प्रहरीका कारण दर्शक संख्या बढी देखिन्थे’, उनले भने, ‘महेन्द्र र उनका साथमा रहेकाहरू पनि आफ्ना पक्षका खेलाडीलाई हौस्याउँदै ताली बजाइरहेको देखिन्थे ।’
मोतीलालका अनुसार, त्यतिबेला फुटबल खेलको अवधि ४५ मिनेटको थियो । खेल सुरु भएको १० मिनेट नबित्दै धनकुटा टाउन टिमले खाता खोल्यो । पहिलो गोल सेन्ट्र्रल फरवार्ड भई खेलेका मदनबहादुर श्रेष्ठले लगाए । त्यसलगत्तै दोस्रो गोल मोतीलालले थपे । खेलको अन्तिम चरणमा चाम्लिङले पुनः धनकुटाको तर्फबाट गोल थपे । खेलको अन्तिम अवधिसम्म पनि महेन्द्रको टिमले गोलको खाता खोल्न सकेन । सुरुवाती अवस्थादेखि नै महेन्द्र टिमको तालमेल नमिल्दा धनकुटालाई फाइदा भएको त्यही टिमका खेलाडी तुलसी दिवस बताउँछन् । शून्यविरुद्ध ३ गोलले विजेता बनेको धनकुटा टिमका खेलाडीलाई महेन्द्रले धाप मार्दै स्याबासी दिएको एलपी सम्झन्छन् । हाल ८८ वर्षीय जगत त्यसबेला
आफ्नो टिमको राम्रो तयारीका कारण जित हात पारेको सुनाउँछन् ।
प्रतियोगितामा विजेता बनेको धनकुटा टिमका खेलाडीलाई राजा महेन्द्रले काँसको आकर्षक कप प्रदान गरे भने उपविजेता रहेका आफ्ना टिमका खेलाडीलाई काँसको कचौरा दिए । मोतीलालका अनुसार, टिमका क्याप्टेन गोपाल दाससहित सबै खेलाडीलाई राजा महेन्द्रले बधाई दिएका थिए । विजेतालाई कप दिएपछि महेन्द्रले ठट्यौली गर्दै कप पाउनेभन्दा कचौरा पाउनेलाई फाइदा भएको बताएका थिए रे । उनले आफ्ना टिमका क्याप्टेन नरशमशेरलाई ‘कचौरा पाउनेले कम्तीमा कचौरामा दाल पिउन पाउने भयौ×’ भन्दै ठट्टा गर्दा खेलाडीहरू गलल हाँसेको जोशी स्मरण गर्छन् ।
खेल सकिएपछि महेन्द्रका साथ गएका फोटोग्राफरले दुवै टिमका खेलाडीको तस्बिर कैद गरेका थिए, जुन तस्बिर अझै पनि जगतबहादुर, मोतीलाल लगायतका घरको भित्तामा सजिएको छ । ८८ वर्षीय जगतबहादुरले भित्ताको तस्बिर देखाउँदै भने, ‘यो तस्बिर देख्दा मलाई अझै तन्नेरी बेलामा पुर्‍याउँछ । समय बितेको पत्तो नहुने ।’ त्यस्तै एलपी जोशी आफ्नो मोबाइलमा रहेको त्यतिबेलाको तस्बिर हेर्दै पुराना दिनहरू स्मरण गर्छन् । हाल झापाको दमकमा बसोबास गर्दै आएका जोशीले भने, ‘फोटो हेर्दा मलाई सत्तरी वर्षअघिको धनकुटा टुँडिखेल पुर्‍याउँछ ।’
राजाको टिमविरुद्ध फुटबल खेलेर जित हासिल गरेपछि धनकुटा टाउन टिम चर्चाको केन्द्रमा रह्यो । तर, इतिहास खोतल्दै जाने हो भने त्यसभन्दा अघि नै धनकुटामा टिम तयार पारेर फुटबल खेलेको भेटिन्छ । पुराना खेलाडीहरूका अनुसार, २००७ सालमै जीबी याक्थुङ्बाको नेतृत्वमा प्रहरी टिमले टुँडिखेलमा फुटबल खेलेको थियो । उनको नेतृत्वमा २०११ सालसम्म फुटबल खेल भइरहन्थ्यो । त्यसबेला धनकुटा बजार क्षेत्रका किशोरहरू प्रहरीको तिनै टोलीले फुटबल खेलेको देखेपछि प्रभावित भए । तिनैले पछि समूह बनाएर खेल्न थालेका हुन् । फेरि तत्कालीन एसएसपी रोम थापाले २०१२ मा तिनै किशोरहरूलाई तालिम दिएपछि दह्रिलो टिम बनेको एलपी जोशी बताउँछन् । उनले भने, ‘त्यसपछि आफैं टिम बनाएर खेल्न थालियो । उक्त टिम सुनसरी, मोरङसम्म प्रतियोगिता भिड्न जान्थे, र विजेता, उपविजेता बन्थे । त्यसबेला गोपालदास श्रेष्ठ, माधवलाल श्रेष्ठ, जयबहादुर श्रेष्ठ, गोपाल श्रेष्ठ, उमेश्वर श्रेष्ठ, गणेशबहादुर श्रेष्ठलगायत दह्रिएका खेलाडी थिए ।’
धनकुटाको सात दशक लामो फुटबल इतिहासकै कारण अहिले पनि राष्ट्रिय टिममा धनकुटाका खेलाडी टुट्ने गरेका छैनन् । फुटबलको राष्ट्रिय टिमको नेतृत्व सम्हालेका सुजल श्रेष्ठ (हाल खेल जीवनबाट संन्यास) देखि कप्तान किरण चेम्जोङ सबै धनकुटाकै हुन् । पछिल्लो अवस्थासम्म पनि धनकुटामा उम्दा फुटबल खेलाडी जन्मिरहेको जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष गोविन्द राई बताउँछन् । ‘पुरुष तथा महिला दुवैतर्फ फुटबल खेलाडी अब्बल बन्दै गएका छन्,’ उनले भने, ‘सात दशकभन्दा बढी इतिहास बोकेको धनकुटाको फुटबल टिमले राष्ट्रिय टिममा पनि प्रभावकारी छाप छोड्दै छन् ।’
पदम भट्टराई राष्ट्रिय टिममा पुगेका छन् । यस्तै, सिर्जना चेम्जोङ राष्ट्रिय टिमबाट खेल्दै छिन् । बी डिभिजनअन्तर्गत पनि झम्सिखेल, खुमलटार, नयाँ बस्ती क्लबमा धनकुटे खेलाडी खेल्दै छन् । एपीएफ टिमका खेलाडी राजु नगरकोटी, हिमालयन शेर्पाको मुख्य प्रशिक्षक सुनम श्रेष्ठ, रेफ्री तुफान चेम्जोङ, महेश मल्लिकलगायत धनकुटाकै उत्पादन हुन् । स्थापित खेलाडी बुद्ध चेम्जोङ पनि छुटाउन नमिल्ने नाम हो । यहाँका महिला खेलाडी कोशी प्रदेशमै अगाडि छन् । सात दशक लामो इतिहास बोकेको धनकुटाको फुटबलको साख जोगाउन उत्पादनमा जोड दिनुपर्ने अग्रज खेलाडीहरू बताउँछन् । हरेक खेलाडीको विश्राम लिने समय आउने हुनाले अन्य खेलाडी उत्पादनका लागि तालिम र प्रोत्साहन जरुरी रहेको राईको तर्क छ । जिल्लाका सातमध्ये पाँच पालिकामा त फुटबल खेल्ने मैदान तयार भइसकेको छ । धनकुटाको तल्लो टुँडिखेल राणाकालीन अवस्थामै तयार भएको थियो । प्रतिष्ठित भीमनारायण स्मृति, रारा फुटबललगायत फुटबल प्रतियोगिता नियमित सञ्चालन हुँदै आएका छन् ।

Page 12
कोसेली

रुकुम– १६ वर्षअघि, १६ वर्षपछि

- जनकराज सापकोटा

 

माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको ५ महिनापछि म द्वन्द्वको आधारक्षेत्र मानिएको रुकुम पुगेको थिएँ । त्यो विसं २०६४ वैशाख पहिलो साताको समय थियो । दाङको सदरमुकाम घोराहीबाट सार्वजनिक बस चढेर सल्यान हुँदै रुकुम सदरमुकाम मुसिकोट पुगेको ठ्याक्कै १६ वर्षपछि म उसै गरी सार्वजनिक बस चढी रुकुम सदरमुकाम पुगेँ । उतिबेला डायरीमा टिपेका दृश्यहरू र यो यात्रामा देखिएका दृश्य तुलना गर्दा बदलिएको रुकुमको तस्रि तयार हुन्छ ।

पुरानो दृश्य
घोराहीबाट शारदा खोलाको तीरैतीर रुकुम सदरमुकाम मुसिकोटतिर हिँडिरहेको सार्वजनिक बस । सिटभन्दा धेरै यात्रु, यात्रुभन्दा धेरै पोकापुन्तुरा । यस्तो लाग्थ्यो– यो गुडिरहेको छैन, साना–ठूला खाल्डा–खुल्डीमा हुत्तिँदै पिङ खेलिरहेको छ । यात्रुहरू सबै एकापसमा बोलिरहेका थिए, हातका पोका पुन्तुरा सम्हालिरहेका थिए । सल्यानको कपुरकोट आएर घ्याच्च रोकिएका बेला बसभित्र काँधमा फिलिप्स रेडियो झुन्ड्याएका अधबैंसे छिरे । तिनको मुख र रेडियो दुवैबाट सँगसँगै आवाज निस्किएर सिंग्नल जुधेजस्तो भइरहेको थियो । ती अधबैंसेको मुखबाट रक्सीको गन्ध र यात्रुहरूको शरीरबाट निस्किएको पसिनाको गन्धले ककटेल हरकको सृजना भइरहेको थियो । मस्तवीर नाम बताउने तिनले बेलाबेला प्रेमका गीत गुनगुनाए, बेलाबेला झ्यालबाट टाउको बाहिर निकालेर बान्ता गरे । भारतबाट कमाइ गरेर फर्केका मस्तवीरले बसमा चिनेजानेका सबैलाई मामा भनेर नमस्कार पनि गरे अनि बेलाबेला रौसिँदै रेडियोको आवाज चर्को पारेर नाच्न खोजेजस्तो पनि । बसभित्र उनी हुत्तिँदै कहिले यता पुग्थे, कहिले
उता । जता पुगे पनि उनी छानीछानी केटी यात्रुलाई झोलाबाट बम्बैया चक्लेट निकालेर दिन्थे अनि मसक्क मस्किन्थे ।

नयाँ दृश्य
सार्वजनिक बसभित्र यात्रुको घन्चमन्च थिएन । एकाध सिट खाली पनि थिए । पोकापुन्तुराभन्दा धेरै किराना पसल र खाद्य स्टोरले मगाएका सामानका बोरा र कार्टुनहरू बसमा । एकाध ठाउँमा बाहेक बस बिरलै उफ्रिन्थ्यो । ठाउँठाउँमा बाटो फराकिलो बनाउँदै गरेको दृश्य देखिन्थ्यो । घोराही बसपार्कबाटै मेरो सिटछेवै सल्यान कपुरकोट घर बताउने अधबैंसे छिरेका थिए । तिनी फोनमा कोको मान्छेसँग बात मारिरहेबाटै मैले पत्तो पाएँ, उनी जग्गा दलाल रहेछन् । कुराकानीपछि थाहा भयो, ५ वर्ष कुवेतमा रोजगारी गरेर फर्केपछि उनी दलाली पेसामा लागेका रहेछन् । अहिले जग्गाको कारोबार घटदै गएपछि उनी फेरि कुवेत जाने ताकमा रहेछन् । उनले गाउँमा कोही अडिन नसक्ने बताउँदै रोमानिया पुगेका आफ्ना सालाको उदारहण दिँदै भने, ‘दलालको पछि भिड्दा भिड्दा साला त्यहाँ छिर्‍यो । अहिले त उसले पोर्चुगल पुगेर कार्ड बनाइसकेको छ ।’ उनी यतिमै रोकिएनन् । थपे, ‘पोर्चुगलको कार्ड बनेपछि त सालो पूरै युरोप घुम्न पाउने भयो । त्यसपछि त पैसा कति हो कति ।’
...
पुरानो दृश्य
गाउँमा न विकासको गति छ न जीवनको । दुई–चार घरका छानामा ठडिएको एन्टेना र सोलार हेरेर मात्रै रुकुमको विकासको गति नाप्न सकिँदैन । जिल्लाभर दर्जनभन्दा बढी गैरसरकारी संस्था थिए, तर तिनका गतिविधि सदरमुकाममै खुम्चिएका थिए । सदरमुकाम मुसिकोट आफैं अलमलमा देखिन्थ्यो । एकाध होटल र एकाध लज अनि गाडीभन्दा धेरै देखिने घोडा र खच्चरको भरमा सदरमुकामको गति नाप्न सकिन्थ्यो । दुई वर्षयता सदरमुकामसम्म मुस्किलले गाडी चल्न थालेको बताउँदै थिए स्थानीय । तुल्सीपुरबाट सल्यान छिचोल्दै सदरमुकामसम्म छोएको एक सय ३६ किलोमिटर कच्ची सडकमा अचेल दैनिक पाँचवटा बस गुड्थे । स्थानीय नेता नेपाली सेनाबाट निर्मिर्त सडक अहिलेसम्म न सडक विभागलाई हस्तान्तरण गरिएको छ न जिविसलाई नै भनिरहेका थिए । तुल्सीपुरबाट बिहान छुटेको बस मध्यरातमा कति बजे मुसिकोट पुग्छ वा बीचमै बास बस्नुपर्छ टुंगो हुँदैनथ्यो । बाटामा पर्ने कपुरकोट र थारमाराजस्ता स–साना बजारमा कुनै गति थिएन । कहीँकतै ट्याक्टर देखिन्थे नत्र पैदलै हिँडिरहेका मान्छेहरू र ससाना भारी बोकेर तीव्र गतिमा हिँडिरहेकाहरू मात्रै देखिन्थे ।

नयाँ दृश्य
तुलसीपुरबाट बिहान छुटेको बस साँझ नपर्दै मुसिकोट पुग्छ । सडक छेउछाउमा बग्रेल्ती स–साना बजार देखिए । ती बजारमा अटो गुडेको, मोटरसाइकल हुइँकिएको मात्रै देखिएन बजारमा एटीएम काउन्टर, वर्कसपहरू पनि देखिए । चुरोट र गुट्खाका खोलहरू जताततै देखिए । सदरमुकाम मुसिकोटको गति यहाँ हुइँकिराख्ने निजी गाडी, अटो र मोटरसाइकल अनि अग्लिइरहेका घरका भरमा मात्र नाप्न नसकिने अवस्था थियो । भनेजस्ता होटल, खाजाघर अनि मोबाइल र इन्टरनेटले दिएको नयाँ संसारको यात्राले मानिसहरू दुनियाँभरका कुराबारे जानकार देखिन्थे । विकासको गति सदरमुकामबाट गाउँतिर फैलिरहेको थियो । मध्यपहाडी राजमार्गले मुसिकोटवासीलाई रुकुमपूर्वदेखि एकै दिनमा बागलुङ हुँदै पोखरा र एकै दिनमा भेरीको किनारैकिनार सुर्खेत सदरमुकाम पुग्न सक्ने बनाइसकेको थियो । ग्रामीण भेगमा सदरमुकामका भव्य भवन देखिन्थे । त्यहाँ इन्टरनेटको सुविधा पनि थियो । कर्मचारीले काम ढिला गरेका बेला सेवाग्राही मोबाइलमा अनेकथरी भिडियो हेरिबसेका थिए । तर, स्थानीय तह प्रमुखहरूको चिन्ता थियो– विकास गाउँतिर मान्छे सहरतिर, यसलाई रोक्ने कसरी ?
...
पुरानो दृश्य
द्वन्द्वको चर्को मारले रुकुम र सल्यानका सुनसान गाउँमा चहलपहल फर्किसकेको थिएन । जिल्लाभित्रका खौला, झुल्नेटा, सिमरुत, मुरु, थारामारेजस्ता साना बजारहरूमा भने चहलपहल थियो । गाउँका जवान पुरुषहरू रोजगारीको खोजीमा भारत अथवा खाडी हान्निएको कथा चोकचोकमा सुनिन्थ्यो । पुस्तैनी सिलाई कटाइको काम गरेर बसेका आरबीसकोट रारीबजारका मुक्ति परियारले भनेका थिए, ‘छोरो मुग्लान पस्छु भन्छ म गाउँमै कल चला भन्छु ।’

नयाँ दृश्य
गाउँहरू सुनसान थिए, तर गाउँका चोकहरू र चियापसलहरूमा गफ उम्लिरहेको थियो । संगठित मानव तस्करको भर परेर अवैध रूपमा अमेरिका छिर्न हिँडेकाहरू ब्राजिलदेखि पनामासम्म, कोलम्बियादेखि ग्वाटेमाला वा होन्डुरससम्म कहाँ पुगेर कसको छोरा अड्किएको छ भन्ने गफ स्थानीयले गरिरहेको सुनियो । अमेरिका छिरेर कमाउनेहरूको फाइँफुर्ती र अमेरिका छिर्न खोज्दाखोज्दै ज्यान गुमाएकाहरूको चर्को निराशा दुवै गाउँमा देखिन्थ्यो । बाफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाठाले दिग्दारीको भावमा सुनाए, ‘लौन यो जसरी हुन्छ अमेरिका छिर्ने लस्करलाई कसरी रोक्ने ? छोराछोरी पढाउनमा कसैको ध्यान छैन, जसरी हुन्छ अमेरिका जाने ध्याउन्न मात्रै छ ।’
...
पुरानो दृश्य
सदरमुकाम मुसिकोटमै पनि कालोपत्र भेट्न मुस्किल थियो । मुसिकोटको एकछेउ ४/५ खच्चडसँगै भेटिए, १८ वर्षे तिलक पुन । उनी सदरमुकामबाट खच्चडमा सामान लादेर गाउँ–गाउँ पुर्‍याउने काम गर्दा रहेछन् । रोगले थलिएका बाको उपचार, घर खर्च र बहिनीको पढाइ खर्च आफूले यही कामबाट धानेको उनले बताए । उनी सामान बोकेर दाङको सदरमुकाम घोराहीबाट सल्यान–रुकुम हुँदै जाजरकोटको सदरमुकामसम्म पुग्दा रहेछन् । ग्रामीण सडक नभएका र भएका कच्ची सडकमा पनि गाडी नगुड्ने भएकाले तिलकजस्ता युवाहरूले गाउँ गाउँसम्म सामान पुर्‍याउने काम पाएका रहेछन् ।

नयाँ दृश्य
कतै कालोपत्र त कतै ग्राभेल सडक । मोटरसाइकलमा हुइँकिँदै बाफिकोटबाट मुसिकोट फर्किंदै गर्दा भेरी किनारमा कालो रङको मोटरसाइकलमा हुइँकिएका युवासँग जम्काभेट भयो । तिनी मसँगै यात्रारत रुकुम संवाददाता महेश केसीका साथीका भाइ रहेछन् । दाइको साथी भएकाले बोल्न खोजे । हातमा रहेको प्लास्टिकको झोलातिर संकेत गर्दै आफू पासपोर्ट बनाएर फर्केको सुनाए अनि भने, ‘तपाईंलाई थाहै होला क्यारे, दाइ त अम्रिका छिरिसक्यो । अब म पनि... ।’ यति भनेर तिनी मसक्क मस्किए अनि एक्सिलेटर दबाएर धूवाँ फाल्दै अगाडि हुइँकिए । महेशबाट थाहा भयो, तिनका दाइ पनि संगठित मानव तस्करलाई पैसाको बिटो बुझाएर ज्यानको माया मारेर ‘अम्रिका’ छिरेका रहेछन् । महेशले अड्कल सुनाए, ‘अब यो केटो पनि यतातिर भेटिँदैन् । अम्रिकाको प्वाँख पलाइसकेको छ ।’
...
पुरानो दृश्य
रुकुमबाट फर्कंदै गर्दा बसमा भेटिएका थिए, १७ वर्षका आइतमान पुन । कतार लैजाने एजेन्ट भेट्न काठमाडौं हिँडेका उनका आँखामा लाहुरे हुने सपना सजिएको थियो । ६ कक्षा पढ्दा–पढ्दै स्कुल छाडेका उनले गाउँको मायाले मात्रै खान पुग्दैन भन्दै सुनाएका थिए, ‘दुईचार पैसा कमाउन सके सुख हुन्थ्यो कि !’

नयाँ दृश्य
सल्यानको सानो बजार थारमारा नजिकैका २२ वर्षीय ओली थरका युवा भेटिएका थिए बसमा । उनले आफूसँगै पढेको एक जना साथी संगठित मानव तस्करकै भरमा चार महिना लगाएर, हिँडेर अमेरिका छिरेको कुरा एकै सासमा रोचक यात्रा वृत्तान्त जसरी सुनाए । भर्खरै १२ पास गरेका उनी आफैं पोल्यान्ड जान दलाललाई पासपोर्ट र अग्रिम भुक्तानी बुझाइवरी उसको फोन कुरेर बसेका रहेछन् । भने, ‘यहाँ बसेर के हुन्छ ? तपाईं नै भन्नुस् न ! दिमाग खराब मात्रै हुने हो यहाँ बसेर ।’ यति भनिसकेपछि पनि उनी रोकिएनन् अनि थोरै स्वर उचो पारेर मलाई सोधे, ‘ल तपाईं नै भन्नुस् न, यहाँ बसेर केही हुन्छ ?’ उनको प्रश्नको उत्तर मसँग शब्दमा थिएन । मेरो मौनताको भाषा सायदै उनले बुझे ।

 

कोसेली

फोकस आउट

- कान्तिपुर संवाददाता


सिकायतपेटिका कि हाजिरपेटिका ?
कम्प्लेन अर्थात् सिकायत अर्थात् गुनासो । एउटा त्यस्तो बाक्सा, जहाँ कुनै बेला जनता सांसदप्रति आफ्ना सिकायत र सुझाव यही पेटिकामा छाडिराख्थे । के आजकल जनतालाई सिकायत लेख्ने फुर्सद छैन ? किनभने जनताले सिकायत लेखिछाड्ने त्यो बाक्सामा अहिले छ– डिजिटल हाजिर मेसिन । र, त्यो बाक्सा छ– संसद्भवन प्रवेश गर्ने मुख्यद्वारको देब्रेपट्टि, नयाँ बानेश्वरमा । हाजिर मेसिन टाँस्सिएको बाक्साको नाम भने बदलिएको छैन । हाजिर मेसिनमुनि लेखिएकै छ– सिकायतपेटिका । संसद्भवनमा सिकायतपेटिका त छ, तर छैन सिकायत ।
– अंगद ढकाल

कोसेली

एक डाक्टर, एक झाँक्री

- कान्तिपुर संवाददाता

 

योझाँक्री गाउँको कथा हो । साउने संक्रान्तिका बेला प्रत्येक वर्ष गाउँभरिका झँक्रीहरू भेला हुन्छन् र यहाँ ठूलो मेला लाग्छ । मगरहरूमा एउटा विश्वास कायमै छ– हजुरबा, आमा, बुबा अर्थात् परिवारमा कोही झाँक्री छ भने देहान्तपछि उसको झाँक्री विद्याले छोरा–नातिमा पुनर्जन्म लिन्छ । रुकुमपूर्वको लुकुम गाउँमा लाग्ने झाँक्री मेलाका पात्र र यसको मिथकलाई एकैछिन पछ्याऊँ ।
संस्कृतिविद् जगमान गुरुङ भन्छन्, ‘देवी–देउताको धामसँग सम्बन्धित व्यक्तिलाई धामी भनिन्छ र झाँक आउने व्यक्तिलाई झाँक्री ।’ मगर गाउँहरूमा जन्म, विवाहको लगन हेर्नुपर्दा वा ग्रहदशा फाल्नुपर्दा जैसी आवश्यक हुन्छ । दुःख वा बिमार हुँदा झाँक्री, मालङ्ग्या र धिम्यानीहरूले उपचार गर्छन् । त्यसैले मगर समुदायमा जैसीहरूलाई ‘ज्योतिष’ र झाँक्रीहरूलाई ‘डाक्टर’ मान्ने चलन छ । अनिल बुढामगर पेसाले डाक्टर हुन् । तर, अहिले रुकुमपूर्वको तकसेरा पुगेर झाँक्रीमा बदलिएका छन् । डाक्टरी पेसासँगै उनी झाँक्री–गुरु रामजित बुढामगरका सहयोगी बनेर गाउँलेको उपचार पनि गर्छन् ।
एकदिन गाउँमा हल्ला चल्यो– अस्पतालमा बिरामीको उपचार गरिरहेका डाक्टर अनिल झाँक्री भए !
र, डढेलोसरि फैलिएको यो खबर सत्य थियो । अनिललाई झाँक्री बनाउने गुरु रामजितका अनुसार, झाँक्री दुई किसिमका हुन्छन्– पुस्तान्तरण र भुइँफुट्टा । भुइँफुट्टाको अर्थ हो– जन्मजात झाँक्री । तर, डा. अनिल थिए– पुस्तान्तरण झाँक्री ।
मगर समुदायमा वनझाँक्री, देवी–देउराली, सिमे–भूमे, हिमाल र तालहरूमा बस्ने बराह देउतालाई पूजा गरिन्छ । झाँक्रीहरू मृत आफन्तसँग सजिलै संवाद गर्न सक्छन् भन्ने विश्वास पनि गरिन्छ । ढ्याङ्ग्रो र झाँक्री पहिरनमा काँपिरहेका अनिलले शान्त भएपछि भने, ‘अरू कसैले पनि नदेखेको, स्पर्श नगरेको देउता मेरो शरीरमा आउँदा म के हुन्छु मैलाई थाहा हुँदैन ।’
अनिलले लगाएको झाँक्री–पहिरनमा थिए– खादी, चौबन्दी, फेटा, शिरमा कालिजका प्वाँख । चिउँडोको दाह्री छोपिनेगरी लगाइएको थियो– चेम्ना (चाँदीका गहना) र अनेकैँं रङका झुम्का । उनको शरीरमा थियो– तँमा, फलामका साना–ठूला घण्टी र विभिन्न जनावरका छालाहरू । घाँटीमा बडेमान सर्पका हड्डी, समुद्रको कौडा र रुद्राक्षका मालाहरू । हातमा थिए– काठलाई कलात्मक तरिकाले बनाइएको बल्था र गजा । अनि गोरुको छालाबाट निर्मित ढ्यांग्रो बोकेर बेहोसीमै नाचिरहेका थिए– डाक्टर अनिल ।

एउटा झाँक्री–मिथ
रम्मा पुरनचन भुइँफुट्टा झाँक्री थिए । कहाँबाट आएको ? उनी
भन्थे रे, ‘पुथा हिमाल ।’
राजदरबारको उपचारमा खट्थे । उनका दुई श्रीमती थिए । बिहेपछि उनको तन्त्रमन्त्रले बाटो मोड्यो । त्यसपछि ‘बोक्सी’ उत्पत्ति भए । तीमध्ये एक त राजाकै कान्छी श्रीमती । यो कुरा उनले बाहिर ल्याएपछि रम्मालाई दरबार निकालाको योजना बन्यो । तर, राजाको आदेश नआउँदै उनले बोक्सी रानीलाई बिरामी बनाएर आफू तल्लो मानोवामा लुक्न गए ।
खोजतलास गर्दा पनि रम्मा भेटिएनन् । रम्माका दुई श्रीमतीहरूलाई दरबार लगियो ।
रम्मा तल्लो मानोवामा फलाम, तामाका भाँडाकुँडा बनाएर बसेको थाहा पाए, राजाले । राजाका दूत तल्लो मानोवा पुगे ।
‘पूर्व दिशा, पश्चिम दिशा र पुथा हिमालतिर गयो होला’ भन्दै रम्माले राजाका दूतहरूलाई अलमल्याए । दूतहरू पुथा हिमाल पुग्न असान मसानहरूले बाटो छेके भने पूर्वपश्चिम जाँदा देउराली देवताहरूले । रम्माको शिरमा कालिजको प्वाँख, आँखामा अंगारको गाजल, नाकमा सरिस्यार्घाको सुवा (झाँक्रीहरूको कार्यमा प्रयोग हुने रूखको पात) र झाँक्रीको सुरुवालको डाम देखे । दूतहरूले सोधे, ‘झाँक्री होइन ?’
उनले छल गर्न भने, ‘म त टिकु कामी हो । हिउँमा आँखा बिग्रेला भनेर गाजल लाउँछु, जाडो छेक्न सुरुवाल ।’
दूतहरूले जुक्ति निकाले । जंगलबाट सरिस्यार्घा र तीतेपाते लिएर रम्माको आरनमा हाले । आरनमा बलिरहेको आगोको धूवाँले रम्मा झाँक्री काँप्न थाले ।
झाँक्री नै भएको प्रमाणित भएपछि रम्मालाई दूतहरूले दरबार पुर्‍याए । रानी निको भइन् । बोक्सी रानीले पुनः जाल बिछ्याउन थालिन् ।
रम्माले शक्ति बढाउन नौ रात, नौ दिन सातानाम पसेर (सुतेर) देवताहरूसँग समय बिताइरहेका बेला रानीले उनीसहित उनको परिवारलाई छल गरिन्, खोलाछेउमा लगेर जलाइन् ।
झाँक्रीको बँदेल देवता आएर पानीले आगो निभाए । रम्माको हड्डीलाई चोखो ठाउँमा गाडे । केही समयपछि रम्माले छोरीको शरीरमा जन्म लिए । ‘पगिल पुँ’ नामक झँकर्‍याल्नीको मृत्युपछि उनका सन्तानहरूमा पुनर्जन्म लिए । यसरी नै पुस्तान्तरण भएर झाँक्री फैलिए ।
यो कथा पुराना झाँक्रीहरूले सुनाउँछन् ।