You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
मुख्य पृष्ठ

उद्धारमा ढिलाइले इजरायलका नेपाली आक्रोशित

- होम कार्की,गंगा बीसी

(काठमाडौं)
दक्षिणी इजरायलको द्वन्द्वग्रस्त नेतिभोतबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नेपाली विद्यार्थीहरू उद्धारमा ढिलाइ गरिएकोप्रति आक्रोशित देखिएका छन् । जीवन उच्च जोखिममा परेको चार दिन बितिसक्दा पनि उद्धार नगरेको भन्दै कृषि विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
इजरायलको दक्षिणी गाजा क्षेत्र र लेवनानसँग जोडिएको उत्तरी क्षेत्रमा कृषि काममा २ सय ६५ जना विद्यार्थी थिए । जसमा हमास लडाकुको आक्रमणमा परी १० जना विद्यार्थी शनिबार मारिएका थिए । चार जना घाइतेको उपचार जारी छ भने एक जना बेपत्ता छन् । घरफिर्तीका लागि
३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । ‘हामी सेदोत नेगेभ (एग्रिकल्चर ट्रेनिङ सेन्टर) बाट सँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका विद्यार्थीलाई सोमबार नै आफ्नो सरकारले उद्धार गरेर लगिसक्यो । हाम्रो सरकार भने चार दिन बैठक मात्रै बसिरहेको छ,’ सुदूरपश्चिम विश्वविद्यालयका लुइस रिजालले भने, ‘प्राथमिकता केलाई दिने भन्ने कुरा नै हाम्रो सरकारले छुट्याउन सकेको छैन ।’
विद्यार्थीहरूले ‘सिंहदरबारमा बस्ने बैठकले साथीहरूको मूल्य मात्रै तोकिरहेको’ बताए । ‘कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक तरिकाले गुज्रिरहेका छौं । त्यो निकै कठिन छ । दुई दिन अगाडिसम्म खान पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो,’ रिजालले भने, ‘दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरू चलिरहेको छ भन्छ । यसका लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा छ । सरकारले सक्तैनौं भन्नुपर्‍यो । पैसा हामी आफैं हाल्छौं । पैसा हाल्न नसक्ने भए हामीलाई तुरुन्तै सूचना प्रदान गर्नुपर्‍यो ।’
नेपाली दूतावासले फार्म मालिक र इजरायली सुरक्षा संयन्त्रसँग समन्वय गरी दक्षिणी क्षेत्र सेदोत नेतिभोतबाट ५५ जना विद्यार्थीलाई रामेत नागेभ र उत्तरी क्षेत्रबाट ७२ जनालाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएर राखिएको छ । इजरायलको उत्तरी क्षेत्र लेवनानको बोर्डर नजिक कार्यरत सय जना विद्यार्थीलाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएको हो । उत्तरी क्षेत्र पनि असुरक्षित बन्दै गएको हो ।
विद्यार्थीहरू आफूहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअनुसार आफ्नो बसाइलाई निरन्तरता दिन नसक्ने भन्दै उद्धार चाहेको बताए । इजरायलका कृषि मालिक र विश्वविद्यालयले भने अध्ययन र पढाइलाई निरन्तरता दिन आग्रह गर्दै आइरहेको छ ।
‘हामीलाई जहिले पनि मानसिक र भावनात्मक रूपमा बलियो हुनुपर्छ भनेर सबैले भनिरहेको छ । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । पाँच दिन हुन लागिसक्यो । बमको आवाज गर्जेको गर्जै छ,’ चितवनकी विभूषा अधिकारीले भनिन्, ‘हामीलाई बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । हामी पूर्ण रूपमा सुरक्षित छैनौं ।’ विद्यार्थीहरू १६ अक्टोबरबाट इजरायलका उडानहरू कतै पनि बाहिर जान नदिने खबरले थप चिन्तित देखिएका छन् । ‘इजरायलले आफ्नै नागरिकलाई त बिदामा बाहिर जाऊ भनिरहेको छ । हामीलाई भने नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ?’ उनले भनिन् ।

धनगढीका कल्पना जोशीले आफूहरूलाई जसरी पनि नेपाल जान चाहेको बताइन् । ‘हामीलाई खाना पाएका छौं ? बस्न पाएको छ भनेर सोध्न पर्दैन । हामीलाई यो ठाउँमा बस्नु नै छैन । हामीले साथीहरू गुमाइसक्यौं,’ उनले भनिन्, ‘हामीलाई जसरी नै नेपाल फर्कनु छ । अब अरू साथीहरूलाई गुमाउनु छैन । जीवित भएको चाहनुहुन्छ भनेर तुरुन्तै उडान पठाइदिनु होला । हामी जीवितै घर जान चाहन्छौं ।’ तेलअविवस्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई नेपाल पठाउन विश्वविद्यालयसँग समन्वय गरिरहेको जनाएको छ । ‘जोखिम क्षेत्रमा रहेका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा ल्याउन सफल भयौं । उनीहरूलाई इजरायल ल्याउने विश्वविद्यालयसँग एक्जिटका लागि समन्वय भइरहेको छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले भनिन्, ‘अहिले राखिएको ठाउँ सुरक्षाको हिसाबले उचित छ ।’
उनले नेपाल जान इच्छुक विद्यार्थी र कामदारसँग फाराम संकलन भइरहेको बताइन् । ‘विश्वविद्यालयसँग विधिवत् रूपमा एक्जिट गर्ने विषयमा छलफल गरेको छ । अर्कोतर्फ विद्यार्थीहरूलाई सार्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘अब कसरी उडानमा पठाउने भन्ने विकल्पमाथि छलफल भइरहेको छ । बुधबारसम्म केही विषयमा स्पष्ट आइसक्छ ।’
शनिबार (असोज २०) यता १० नेपालीसहित इजरायलमा ९ सय जनाको मृत्यु भइसकेको छ । २६ सय घाइते भइसकेका छन् । गाजातर्फ ८ सय ३० जना प्यालेस्टिनीको मृत्यु भइसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तेलअभिभमा कार्यरत गैरआवासीय नेपाली संघका युवा संयोजक रमेश जोशीले अत्यावश्यक पसलबाहेक सबै खुलेको बताए । ‘हामी ड्युटी गएका छैनौं । सडकमा मान्छेहरूको चहलपहल एकदमै कम छ । अत्यावश्यक काम नपरी निस्किएको छैन,’ उनले भने, ‘अहिले सबै नेपालीहरू एकआपसमा जोडिएका छौं । एकजुट भएका छौं ।’ १६ वर्षदेखि जेरुसेलममा कियरगिभरको काम गरिरहेकी चितवनकी प्रभा घिमिरेले आफूले नेपालमा रहेको घरपरिवारलाई सान्त्वना दिइरहेका बताइन् । ‘नयाँ आउने साथीहरू अलि डराएका छन् । परिवारले चिन्ता गरेका छन्,’ उनले भने ।
घिमिरेले जेरुसेलममा थप उपचारका लागि सअरे जेडेक अस्पतालमा ल्याइएको दाङका प्रवीण डाँगीलाई भेटेकी थिइन् । जेरुसेलमबाट तीन घण्टाको मोटर दूरीमा रहेको नेभेगबाट डाँगीलाई उपचारका लागि ल्याएको हो । ‘डाँगीको खुट्टाको अप्रेसन भयो,’ उनले भनिन्, ‘अहिले स्वास्थ्य अवस्था धेरै सुधार भइरहेको छ ।’

मुख्य पृष्ठ

अपराधीलाई उन्मुक्ति दिन कांग्रेस, एमाले र माओवादीको मनमौजी

- मातृका दाहाल

(काठमाडौं)
चितवनका शिव पौडेलको हत्या अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका फणीन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनील केसीको ११ वर्ष कैद अवधि सरकारले घटाइदिएपछि २०७७ फागुन ७ मा जेलबाट छुटे । पौडेल चितवन तरुण दलका अध्यक्ष थिए, हत्याका दोषी तीनै जना एमाले समर्थक । एमाले (त्यसबेला नेकपा) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री हुँदा ‘असल चालचलन भएका व्यक्ति’ का रूपमा व्याख्या गरेर आधा सजाय पनि भुक्तान नगरी उनीहरूलाई कैद मुक्त गराइएको थियो ।
िि
िदोस्रो संविधानसभा निर्वाचनमा बारा–४ बाट एमाले उम्मेदवार रहेका महमुद आलमको २०७० असोज १८ गते परवानीपुरमा गोली हानी हत्या भयो । एमालेकै नेता रामचन्द्र कुशवाह (प्यासी) मुख्य योजनाकारका रूपमा दोषी ठहरिए । चुनावमा टिकट नपाएपछि उनले आलमको हत्या योजना बनाएको पोल खुल्यो । आलम ओलीनिकट र प्यासी तत्कालीन एमालेका नेता माधवकुमार नेपाल पक्षधर थिए । जन्मकैदको सजाय भुक्तान गरिरहेका प्यासी २०७९ असोज ३ मा संविधान दिवसका दिन रिहा भए । २० वर्ष कैद तोकिएका प्यासीलाई ९ वर्ष जेल भुक्तान गरेपछि छाडियो । उनको सजाय माफी हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण थिए । प्यासीलाई रिहा गर्न हाल नेकपा एसका अध्यक्ष रहेका नेपालले नै जोडबल गरेका थिए, रिहापछि एसमै प्रवेश गरेर प्यासीले नेपालको ‘गुन’ तिरे ।
िि
िएसएसपीसहित ८ प्रहरी र एक बालकको हत्या अभियोगमा जन्मकैद सजाय तोकिएका रेशम चौधरीले गणतन्त्र दिवसका दिन २०८० जेठ १५ मा आममाफी पाए । आममाफी दिन प्रधानमन्त्री पुष्पकमल दाहालकै विशेष रुचि थियो । आममाफी दिए नागरिक उन्मुक्ति पार्टीको समर्थन रहिरहने देखेर जघन्य अपराधका दोषीलाई उन्मुक्ति दिन सरकारले कानुनको धज्जी उडाएको थियो । सर्वोच्चबाट दोषी ठहर भएर फैसलाको पूर्ण पाठ नआउँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट चौधरीले उन्मुक्ति पाए । उन्मुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
िि
िदाहाल नै प्रधानमन्त्री रहेका बेला २०७९ फागुन ७ मा माओवादी नेता पुष्कर गौतमलाई राष्ट्रपतिबाटै आममाफी दिइयो । द्वन्द्वकालमै व्यक्ति हत्याको अभियोगमा दोषी ठहर माओवादीका पूर्वसांसद बालकृष्ण ढुंगेल नेकपा नेतृत्वको सरकारकै पालामा माफी पाएर छुटे । हाल ढुंगेलको निधन भइसकेको छ । जघन्य अपराधमा जन्मकैद सजाय पाएका दोषीले राजनीतिक स्वार्थ र मिलेमतोमा कसरी उन्मुक्ति पाउँछन् भन्ने तथ्य माथिका घटनाले उजागर गर्छ ।

कानुनका छिद्रलाई टेकेर अपराधीलाई उन्मुक्ति दिन खासगरी सरकारमा हुँदा ठूला तीन दल एमाले, कांग्रेस र माओवादीले मनमौजी निर्णय गर्ने गरेका छन् । संविधान दिवसका दिन असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद सजाय तोकिएका कांग्रेसनिकट रिगल भनिने योगराज ढकाललाई ६० प्रतिशत सजाय बाँकी छँदै उन्मुक्ति दिए । ढकाललाई माफी दिने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरिसकेको छ ।
राजनीतिक आन्दोलनले सफलता पाएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ (प्रजातन्त्र दिवस) र जेठ १५ (गणतन्त्र दिवस) तथा संविधान जारी भएको असोज ३ (संविधान दिवस) लाई राष्ट्रिय पर्वका रूपमा मनाइने गरिएको छ । पछिल्लो ५ वर्षको अवधिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट ६ हजार ६ सय ११ जनाले माफी पाएका छन् । व्यक्ति हत्या र ज्यान मार्ने उद्योगदेखि डाँका र वन्यजन्तु तस्करीमा संलग्नलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट उन्मुक्ति दिइएको छ । यो अवधिमा सर्वोच्च अदालतबाट दोषी करार भएर पनि जेल नबसी
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट १ सय ५७ जनाले आममाफी पाएका छन् । प्रधानमन्त्री कार्यालयबाट प्राप्त विवरणअनुसार यस पटकको संविधान दिवस असोज ३ र गणतन्त्र दिवस जेठ १५ मा क्रमशः ६ सय ७० र ४ सय ८२ गरी १ हजार १ सय ५२ जनाले आधादेखि ६० प्रतिशतसम्म सजाय छुट पाएका छन् । दुवै निर्णय हुँदा दाहाल प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन् ।
२०७९ को गणतन्त्र दिवसमा ८ सय १८, संविधान दिवसमा ६ सय ८१ र प्रजातन्त्र दिवसमा ३ सय ८१ जनाले माफी पाएका थिए । प्रजातन्त्र दिवसमा माफी हुँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं गृहमन्त्रीमा दाहाल नै थिए । संविधान दिवस र गणतन्त्र दिवसमा निर्णय गर्दा देउवा प्रधानमन्त्री र बालकृष्ण खाण गृहमन्त्री थिए । २०७८ को गणतन्त्र दिवसमा ४ सय ३० कैदीलाई रिहा गर्दा केपी शर्मा ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री थिए । सोही वर्ष प्रजातन्त्र दिवसमा ५ सय १ जनाले बाँकी कैद मिनाहा र १२ जनाले आममाफी पाए । त्यस वर्षको संविधान दिवसमा ५ सय २३ जनालाई रिहा गरिएको थियो । दुवै निर्णय प्रधानमन्त्री देउवाको सिफारिस र राष्ट्रपति भण्डारीको निर्णयबाट भएको थियो । त्यसअघि २०७७ र ०७६ मा तीनवटै दिवसमा क्रमशः १ हजार १ सय २ र १ हजार २३ जना कैदी राष्ट्रपतिबाट सजाय माफी भएर रिहा भएका थिए । दुवै वर्ष ओली प्रधानमन्त्री र थापा गृहमन्त्री थिए ।
जुन दल सरकारमा छन्, तिनीहरूकै दबाब र प्रभावमा निर्णय भएको देखिन्छ । पछिल्लो पटक असोज ३ मा आममाफी दिन सिफारिस गरिएका ३४ जनाको सूची भने राष्ट्रपति पौडेलले ‘माफी दिनुको कारण र औचित्य’ खुलाएर पुनः पठाउन गृह मन्त्रालयमै फिर्ता गरिदिएका थिए । पछि यो विषय पुनः अघि बढेन ।
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी विभिन्न अपराधका दोषीलाई दिइने बाँकी सजाय छुट अधिकार नभई सुविधा मात्रै भएको बताए । सुविधाको प्रयोग सही तरिकाले हुनुपर्ने उनको भनाइ छ । सजाय मिनाहा र राष्ट्रपतिबाट दिइने आममाफीमा अपवादबाहेक सरकारले महान्यायाधिवक्ता कार्यालयसँग राय नलिएको उनले बताए । ‘रिगललाई कैद छुट दिने विषयमा पनि सरकारले कुनै परामर्श लिएन,’ उनले भने ।
‘कैदीलाई बाँकी सजाय छुट र आममाफी दिँदा सरकारले मुद्दाको अवस्था (स्टाटस) बारे मात्रै सोध्छ । हामीले पनि मुद्दा कुन अदालतबाट के भएको छ, यसबारे मात्रै उल्लेख गर्ने गरेका छौं,’ रेग्मीले कान्तिपुरसँग भने, ‘यो मुद्दामा कैद कट्टा वा यो व्यक्तिलाई रिहा गर्दा के–कसो गर्ने भनेर सोधिँदैन ।’ यद्यपि सरकारले गरिसकेका निर्णय भएकाले त्यसको प्रतिरक्षा गर्नु आफूहरूको दायित्व भएको उनले बताए ।
संविधानविद् भीमार्जुन आचार्य पछिल्लो पटक जन्मकैदका दोषी ढकालको सजाय छोट्याउने निर्णय गरेर राष्ट्रपति र प्रधानमन्त्री नै चुकेको बताउँछन् । ‘कैद सजाय छुट सुविधा हो, दाबी होइन, अनुरोधसम्म गर्न मिल्छ । जसले कैद छुट पाउने हो, उसबाट समाजमा कुनै जोखिम र खतरा रहन्छ/रहँदैन भन्ने कुरा हेरिनुपर्छ,’ आचार्यले भने, ‘तर, कैद छुट वा आममाफी दिने विषयलाई राष्ट्रपतिले अधिकारका रूपमा प्रयोग गरिरहेका छन् । शक्तिको प्रयोग सही र विकेकसम्मत हुनुपर्नेमा मनोमानी रूपमा गर्न थालियो ।’
मुलुकी फौजदारी कार्यविधि संहिता र सजाय निर्धारण ऐनअनुसार जन्मकैदलाई २५ वर्ष गणना गरिन्छ । साबिक मुलुकी ऐन–२०२० अनुसार जन्मकैदको अवधि २० वर्ष गणना हुने उल्लेख छ । हालको कानुनअनुसार जन्मकैदको सजायलाई ‘नेगेटिभ सूची’ मा समेटिएको छ । अहिले जन्मकैदलाई माफी/मिनाहा दिन मिल्दैन । मुलुकी ऐनमा जन्मकैद ‘नेगेटिभ सूची’ मा पनि राखिएको छैन । त्यस्तै, हालको कानुनमा ५० प्रतिशत सजाय भुक्तान गरेका र नेगेटिभ सूचीमा नपरेकालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गर्न सकिने उल्लेख छ । मुलुकी ऐनअनुसार जन्मकैद सजाय पाएकालाई पनि कारागार नियमावलीको नियम २९ (१) अनुसार नेगेटिभ सूचीमा नपरेकालाई ६० प्रतिशतसम्म सजाय माफी मिनाहा गर्न सकिने उल्लेख छ । यही छिद्रलाई टेकेर सरकारले सर्वस्वसहित जन्मकैद सजाय पाएर पनि ढकाललाई भारी मात्रामा कैद छुट दिएको छ । त्यस्तै, गोपाल शिवाकोटीका तर्फबाट दायर रिटबारे २०७७ साउन १९ मा सर्वोच्चबाट भएको परमादेशलाई पनि जन्मकैदका दोषीलाई उन्मुक्ति दिन सरकारले आधार लिएको दाबी गरेको छ ।
‘प्रचलित कानुनले ज्यानसम्बन्धी कसुरलाई नकारात्मक सूचीमा राखे तापनि यसअघि कारागार नियमावली २०२० को नियम २९ (१) ले ज्यानसम्बन्धी कसुरलाई नकारात्मक सूचीमा नराखेको तर फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ (क) तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ (४) मा जन्मकैदको सजाय भोगेका कैदीको हकमा पुरानो कानुनबमोजिम सुविधा पाउने हकबाट वञ्चित गर्न मिल्ने देखिँदैन । कानुनको पश्चादर्शी असर हुनु हँॅदैन’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त छ । संविधानको धारा २० (४) मा ‘तत्काल प्रचलित कानुनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसुर गर्दाका अवस्थामा कानुनमा तोकिएभन्दा बढी सजाय दिइने छैन’ भनी व्यवस्था गरिएको छ । तसर्थ वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कसुरदारको हकमा साबिकका कसुरदारलाई माफी मिनाहाको सुविधा उपलब्ध गराउनु भनी कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयका नाममा परमादेश जारी गरिएको छ ।
२०७२ कात्तिक ३० मा कारागार नियमावली संशोधन गरी तत्कालीन सरकारले नियमावली २०२० को नियम २९ को उपनियम १ मा ५० प्रतिशतसम्म भन्ने शब्दको सट्टा ‘साठी प्रतिशतसम्म’ भन्ने शब्द राखिएको छ ।
‘खुँडाले मान्छे मारेको कसुरमा जन्मकैद सजाय पाएकालाई उन्मुक्ति दिएर सरकार र राष्ट्रपति दुवै संस्था राजनीतिक, कानुनी र नैतिक विषयमा चुकेका छन्, यो विषयको निरुपण अदालतबाट होला नै,’ संविधानविद् आचार्यले भने, ‘यदि अलिकति पनि नैतिकता छ भने तत्काल विवादित निर्णय फिर्ता हुनुपर्छ । सर्वोच्चबाट निर्णय उल्टियो भने प्रधानमन्त्री र राष्ट्रपतिले पदमा बस्न नैतिकता रहँदैन ।’
फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रकाश उप्रेती कैद कट्टा र आममाफीको निर्णय विवेकपूर्ण हुनुपर्ने बताउँछन् । उनका अनुसार राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिको हकमा उसले सार्वजनिक पद धारण गर्न पाउने कि नपाउने भन्ने विषय स्पष्ट रूपमा कानुनमा उल्लेख छैन । ‘राष्ट्रपतिबाट आममाफी पाउने व्यक्तिको अपराध शून्यमा झरेको हो वा अपराधले अयोग्यता सिर्जना गर्छ भन्ने कानुनले स्पष्ट भनेको छैन ।’

मुख्य पृष्ठ

सिपी पालेर मोती

- शंकर आचार्य

(पर्सा)
कास्की पोखराको रूपा तालमा पालिएका सिपीबाट उत्पादित मोती सबैभन्दा चम्किलो र ठूलो आकारमा पाइएको छ । चार मिटर मात्र गहिराइ रहेको रूपाको पानीमा ‘फाइटोप्लाङ्कटन’ तत्त्व बढी रहेको र त्यो सिपीको आहारासमेत रहेकाले हुर्कन बढी मद्दत गरेको अनुसन्धाता बताउँछन् ।
‘सिपीले फाइटोप्लाङ्कटन तत्त्व पानीबाट छानीछानी खान्छ,’ मत्स्य अनुसन्धान केन्द्र पोखराका वरिष्ठ वैज्ञानिक डा. मोहम्मद इकवाल हुसैनले भने ।

‘यो तत्त्व नपाइने जलाशयमा युरिया, डीएपी र कम्पोस्ट मल हालेर पनि फाइटोप्लाङ्कटन उब्जाएर सिपीको आहारा बढाउन सकिन्छ,’ डा. हुसैनले भने । रूपासहित पोखराका फेवा र बेगनास तालमा ‘फ्रेस वाटर पर्ल फार्मिङ डेभलपेन्ट युजिङ लोकल बाई भल्भ’ कार्यक्रम सात वर्षदेखि सञ्चालनमा छ । तीमध्ये रूपामा सबैभन्दा राम्रो नतिजा आएको हो ।
सामुद्रिक सिपीहरू आकारमा ठूलो हुने भएकाले तिनमा प्राकृतिक रूपमा एकैसाथ धेरै मोती भेटिन्छ । नेपालको सन्दर्भमा तुलनात्मक रूपमा साना सिपी पाइन्छन् । यहाँ एउटा सिपीबाट अधिकतम २ वटासम्म मोती उत्पादन गर्न सकिने हुसैन बताउँछन् । सिपीको शरीरमा किसानले आफूले चाहेको मोतीको आकारको ससाना मूर्ति वा अन्य आकारका वस्तु प्रत्यारोपण गरेपछि सिपीले १२ देखि १८ महिनाको अवधिमा त्यसै आकारको मोती उत्पादन गर्छ । सिपीले आफ्नो शरीरमा प्रवेश गराइएको मूर्ति आकारको वस्तुमा क्याल्सियम कार्बोनेट तत्त्व थुपारेर मोती बनाउँछ । सिपीको शरीरमा प्रत्यारोपण गरिने मूर्ति आकारका वस्तु पनि सिपीकै खोलको धूलोबाट उत्पादन गर्न सकिन्छ । त्यसलाई विभिन्न आकार दिन चाहिने सामग्री सहजै बजारमा उपलब्ध हुने हुसैनले बताए ।
वैज्ञानिकका अनुसार सरदर १ हेक्टर जलाशयमा २० हजारवटा सिपी पाल्न सकिन्छ । गाउँघरका खोलानाला तथा जलाशयबाट सहजै सिपी संकलन गर्न सकिने हुसैनले बताए । ‘लेमिलिडेन्स मार्जिनालिस जातको सिपीबाट मोती उत्पादन बढी सफल हुन्छ र यो जातको सिपी नेपालमा सहजै उपलब्ध हुन्छ,’ उनले भने ।
मत्स्यपालक किसानलाई सिपीपालनमा पनि आकर्षित गर्न क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश कार्यालय परवानीपुरमा बुधबारदेखि सिपीबाट मोतीको उत्पादन परीक्षण थालिएको छ । मत्स्य अनुसन्धान केन्द्र पोखराले कृषि अनुसन्धान निर्देशनालय परवानीपुरसँगको सहकार्यमा निर्देशनालयका प्राविधिक र किसानलाई तालिम दिएको हो । वरिष्ठ वैज्ञानिक हुसैनले स्थलगत रूपमै सिपीपालनको विधिबारे प्रशिक्षण दिएका थिए । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीमा कार्यक्रम सकेर परवानीपुर र नेपालगन्ज निर्देशनालयमा पनि सञ्चालन गर्ने योजना रहेको हुसैनले बताए ।
कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका निर्देशक डा. विश्वेश्वरप्रसाद यादवले सिपीपालनबाट मत्स्य किसानले दोहोरो लाभ लिन सक्ने बताए । यो किसानको हितमा रहेकाले मधेशका सबै किसानमा विस्तार गर्न आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ । पर्सा भिष्वाका अगुवा मत्स्यपालक अरुण कुशवाहाले आफूजस्ता किसानका लागि सिपीपालन तालिम लाभदायी रहेको बताए । धेरै लगानी नहुने र राम्रो प्रतिफल पाइने भएकाले निकट भविष्यमै सिपीपालन सुरु गर्ने उनको लक्ष्य छ ।

Page 2
म्यागेजिन

बढ्दो सेवाग्राही छैन पर्याप्त जनशक्ति

- रमेशकुमार पौडेल

(चितवन)
भाइबुहारी फूलमाया तामाङलाई शनिबार मध्याह्न सुत्केरी बेथा लागेपछि मकवानपुर मनहरीकी लक्ष्मी थिङ ३६ किलोमिटर पूर्व पर्ने आफ्नै जिल्लाको हेटौंडा अस्पताल नगएर ४६ किलोमिटर पश्चिमको भरतपुर अस्पतालतर्फ मोडिइन् । शनिबार साँझ फूलमायाको कोखबाट छोरा जन्मियो । नवजात शिशु आडैमा राखेर लक्ष्मीले सुनाइन्, ‘बच्चाको वजन बढी छ, राम्रै सुविधा भएको अस्पताल लैजानु भनेका कारण यहाँ आएको हो ।’
फूलमायाले चार वर्षअघि पहिलो सन्तानलाई पनि यही अस्पतालमा जन्माएकी थिइन् । लक्ष्मीले सुनाइन्, ‘पहिलो पटक पनि यहीं आएको हो । त्यसैले अहिले पनि यहीं आयौं । यहाँ राम्रो हुन्छ भन्ने सुनेका थियौं । त्यसैले आयौं ।’ उनले चार वर्ष र अहिलेको अवस्था तुलना गर्दै अहिले अस्पतालमा भीड बढेको तर पहिलेभन्दा सरसफाइ राम्रो देखिएको बताइन् ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ कुसुन्डेका पदमबहादुर दराई खुट्टामा चोट लागेपछि भाइलाई जँचाउन गत जेठमा भरतपुर अस्पताल आएका थिए । घरदेखि झन्डै ५० किलोमिटर परेको अस्पतालमा भाइलाई एक महिना उपचार गराएर फर्केका पदम फेरि श्रीमती सुनमायाको उपचारका लागि यहीं नै आएका छन् । उनले भने, ‘हामी त आउने ठाउँ नै यहीं हो । सस्तो पनि छ, उपचार ठीकै पनि लाग्छ ।’ चितवनका अलवा फूलमाया र पदमबहादुरजस्ता छिमेकी जिल्लाबाट आउने सेवाग्राहीले सधैं भरिएको हुन्छ, भरतपुर सरकारी अस्पताल । यो अस्पतालमा सेवाग्राहीको कति भीड हुन्छ भन्ने बुझ्न गत आर्थिक वर्षमा ओपीडीमा सेवा लिन आएका सेवाग्राहीको संख्या हेरे मात्रै पुग्छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा ३ लाख ७ हजार १ सय २१ जना ओपीडीमा सेवा लिन आएका थिए । ओपीडीमा आएकामध्ये ३१ हजार १ सय ३७ जना भर्ना भएर उपचार गराएका थिए । भर्ना भएकामध्ये ९ हजार १ सय ३३ जनाको शल्यक्रिया भएको थियो ।
यो अस्पताल विरलै सुनसान देखिन्छ । टिकट लिने काउन्टर होस् या डाक्टर भेट्ने ओपीडी कोठा, प्रयोगशालाको ढोका बाहिर होस् कि फार्मेसी । जताततै हूलका हूल सेवाग्राही भेटिन्छन् । अस्पतालका मेडिकल रेकर्डर नारायणप्रसाद रिजालका अनुसार असोज ४ गतेमात्रै ओपीडीमा दुई हजार ६ सय ९ र आकस्मिक कक्षामा २ सय ३१ सेवाग्राहीहरू आए । रिजालले साउन २१ मा २ हजार ९०, भदौ ३ मा २ हजार १ सय ५० जना र भदौ १७ मा २ हजार ३ सय ९६ जना सेवाग्राही ओपीडीमा आएको बताए । उनले भने, ‘तीन हजारकै हाराहारीमा अस्पतालमा सेवा लिन आउने भएपछि थामिनसक्नुको भीडभाड बढेको छ ।’
मेडिकल सुपेरिन्टेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले यो अस्पताल अत्यधिक सुत्केरी सेवा दिने अस्पतालमध्येमा पर्ने बताए । उनले एक वर्षमा ६ हजार ८ सय २ जना सामान्य तरिकाले सुत्केरी भएको उल्लेख गर्दै भने, ‘अस्पतालमा ६ सय बेड (शय्या) सञ्चालनमा छ । गत वर्ष अस्पतालको बेड अकुपेन्सी (बिरामीले बेड भरिने) दर ८१ प्रतिशत थियो । यो वर्ष ९० प्रतिशत नाघ्छझैं छ ।’ उनले अस्पतालको अकुपेन्सी दर ७० प्रतिशत भए व्यवस्थापन गर्न सहज हुने उनले बताए । अहिले व्यवस्थापनमा निकै हम्मेहम्मे परेको र सेवाग्राहीले सोचेअनुरूपको सेवा पाउन नसकेको पनि हुन सक्ने उनले बताए ।
दैनिक सयौंको संख्यामा सेवाग्राहीलाई सेवा दिइरहेको यो ६७ वर्ष पुरानो अस्पतालको आफ्नै इतिहास छ । चितवनको बस्ती विस्तारको कोसेढुंगा मानिएको राप्तीदून विकास परियोजनाको इतिहाससँगै जोडिएर आउँछ भरतपुर अस्पतालको इतिहास । २०१३ सालमा राप्तीदून विकास परियोजनाले हालको जिल्ला प्रहरी कार्यालय अगाडि स्वास्थ्य केन्द्र खोल्यो । जसको प्रमुख भएर आए, डा.हिरण्यदेव प्रधान । यिनै प्रधानको प्रयास अमेरिकी सहयोगमा भरतपुरमा अस्पतालको पक्की भवन बन्यो । २०२० पुसमा तत्कालीन राजा महेन्द्रले उक्त भवनको उद्घाटन गरे र यसको नाम रह्यो, महेन्द्र आदर्श चिकित्सालय । २०६२/६३ को यो अस्पतालको नाम फेरेर भरतपुर सरकारी अस्पताल राखियो ।
यो अस्पतालमा चितवनका सेवाग्राही मात्रै आउँदैनन् । मकवानपुर मनहरीकी लक्ष्मी र नवलपरासी मध्यबिन्दुका पदमबहादुर जस्ता कम्तीमा २२ जिल्लाका बिरामी यहाँ आइपुग्छन् । अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा.पौडेलका अनुसार यहाँ मकवानपुर, नवलपरासीका दुवै खण्ड, धादिङ, तनहुँ, गोरखा र लमजुङ जिल्लाका अत्यधिक बिरामी आइपुग्छन् । सरकारले स्वास्थ्य बिमा बोर्डमार्फत उपचार सेवामा बिमा सुविधा ल्याएपछि त्यसको चाप अस्पतालको ओपीडी र फार्मेसी तथा प्रयोगशालामा परेको देखिन्छ । परिवारका पाँच जनासम्म सदस्यको स्वास्थ्य बिमा ३ हजार ५ सय रुपैयाँ तिरेर गर्न सकिने र बिमा सुविधा भएको अस्पतालमा उपचार गर्न जाँदा बिमा गरेको वर्ष दिनभित्र एक लाख रुपैयाँसम्मको सुविधा पाइन्छ । अहिले भरतपुरको अस्पतालमा ओपीडीमा देखिने भीडमा बिमा गरेकाहरू अत्यधिक छन् ।
मेडिकल सुपेरिन्टेन्डेन्ट डा.पौडेलले सर्वाधिक सेवाग्राही भएको असोज ४ मा ओपीडीमा आएकामध्ये २ हजार १ सय ४३ जना बिमा गरेकाहरू भएको बताए । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार गत वर्ष कुल ओपीडीमा आएका ३ लाख ७ हजार १ सय २१ मध्ये २ लाख २१ हजार ३ सय ३१ बिमा गरेका थिए । उनले अस्पताल आउनेमध्ये ७० प्रतिशतसम्म बिमा गरेका सेवाग्राही रहेको बताए । स्वास्थ्य बिमा बोर्डले नियमित औषधि खाने दीर्घरोगीहरूलाई औषधि लिन प्रत्येक महिना अस्पताल जानुपर्ने नियम बनाएको छ । अस्पतालको बिमा युनिटका इन्चार्ज लीला पौडेलले ‘त्यस्ता दीर्घरोगीहरू एकपटक अस्पताल आउँदा दुई महिनासम्मको औषधि लैजान पाएयता ओपीडी र फार्मेसीमा पर्ने चाप कम हुन सक्छ ।’

जनशक्तिकै अभाव
राजा महेन्द्रले उद्घाटन गर्दा अस्पताल २५ शय्याको थियो । २०४० सालमा शय्या बढेर ५० पुग्यो भने २०५० सालमा शय्या बढेर दोब्बर अर्थात् सय पुग्यो । २०६१ सालमा शय्याको संख्या १ सय ५० पुग्यो । २०६७ सालमा अस्पतालले तीन सय शय्याको स्वीकृति पायो । त्यही बेला अस्पताल विकास समितिमार्फत थप तीन सय शय्या थपेपछि अहिले अस्पताल ६ सय शय्यामा चलिरहेको छ ।
२०७५ फागुन ३ मा सरकारले भरतपुर अस्पताललाई संघीय मन्त्रालयअन्तर्गत रहने विशिष्टकृत रेफरल अस्पताल बनाउने भन्दै पाँच सय बेडको स्वीकृति दियो । सुपेरिन्टेन्डेन्ट डा.पौडेलले भने ‘यो बेडअनुसार जान हामीलाई १ हजार ८७ दरबन्दी चाहिन्छ । अस्पताल विकास समितिमार्फत पनि गरेर ६ सय बेडमा चल्दै आएको छ । जबकि सरकारी दरबन्दी भने १ सय ५० बेडको अस्पताललाई पुग्ने गरी १ सय ७५ जनाको मात्रै छ ।’ स्थायी दरबन्दी १ सय ७५ भए पनि अहिले अस्पतालमा दरबन्दीका १ सय ६८ जना मात्रै कार्यरत छन् । अस्पताल विकास समितिले आफ्नो आम्दानीबाट तलब दिने गरेर ६ सय ६५ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू राखेको छ ।
अस्पताल विकास समितिले थप कर्मचारी चिकित्सक राखे पनि पनि बेड र जनशक्तिको अनुपात मिलेको छैन । डाक्टर पौडेलले भने, ‘हामीलाई शल्यक्रियाअघि बेहोस पार्ने डाक्टर (एनेस्थेसियालोजिस्ट) को अभाव छ । ४० जना जति शल्यक्रिया गर्ने चिकित्सक छन् । यो संख्याअनुसार १० जना एनेस्थेसियालोजिस्ट चाहिन्छ । तर सरकारी दुई र अन्य चार गरेर ६ जना मात्रै छन् ।’ उनले जनरल सर्जन विभागमा १० जना शल्यचिकित्सक रहेकामा सरकारी दरबन्दीका एक जना पनि नभएको बताए । अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको उनले बताए । शल्यचिकित्सकको पर्याप्त सरकारी दरबन्दी नहुनु र ३५ प्रतिशतसम्म बढी भत्ता दिन्छु भन्दा पनि एनेस्थेसियालोजिस्ट नपाइँदा बढाउन सम्भव नभएको उनले बताए । जनशक्तिको अभावमा अहिले पित्तथैलीमा हुने ढुंगाको अप्रेसन गर्नुपर्दा नौ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । डाक्टर पौडेलले पित्तथैलीको पत्थरीमा धेरैले बिनाचिरफार गरिने सेवा रोज्ने भएकाले पालो कुर्नुपरेको हो । उनले अस्पतालमा मुटु उपचारका लागि क्याथ ल्याब र एमआरआई मेसिनको पनि अभाव भएको उल्लेख गर्दै अहिले दिनहुँ १५/२० वटा एमआरआई गर्नुपर्नेहरूलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको बताए । सुत्केरीको केस धेरै हुने भए पनि यो अस्पतालमा बच्चाका लागि एनआईसीयू, पीआईसीयू भए पनि अहिलेसम्म बच्चाको सर्जन छैनन् । त्यस्तै फोक्सोको शल्यक्रिया सेवा पनि यहाँबाट सुरु हुन सकेको छैन ।
शिक्षण संस्था बनाउने योजना अधुरै
भरतपुर अस्पताल विकास समितिमा २०७१ सालदेखि दुई वर्ष अध्यक्ष भएका थिए विजय सुवेदी । ६१ सालमा तयार भएको गुरुयोजना उनको कार्यकालमा स्वीकृत भएको थियो ।
जसमा यो अस्पताललाई हजार शय्याको बनाउने कुरा मात्रै छैन । आवश्यक जनशक्ति व्यवस्थापन गर्न चिकित्सा शिक्षामा एमडी, एमएस पढाउने योजना पनि छ । पूर्वअध्यक्ष सुवेदीले भने, ‘त्यसो भयो भने अस्पतालमा आवश्यक हुने जनशक्ति केही हदसम्म पूरा पनि हुन्छ ।’ भरतपुर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक कलेज बनाउने २०७९ सालको चैत १० मा निर्णय भएको थियो । गत वर्ष न्याम्सको सिनेटले यो निर्णय पारित गरेको थियो । तर
कलेज चलाउन लागि भवन र क्वाटर बनाउन कम्तीमा १६ बिघा जग्गा आवश्यक हुन्छ । भरतपुर अस्पतालसँग जग्गा नभएको होइन । तर सबै जग्गाको भोगचलन अस्पतालले गर्न सकेको छैन ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको नाममा ३१ बिघा ११ कट्ठा जग्गा भए पनि अस्पतालले उपभोग गरेको जग्गा १२ बिघा जति भएको बताए । अस्पतालसँग कुनै सम्झौता नगरी सीटीईभीटीले २०५२ सालदेखि करिब पाँच बिघा जमिन उपभोग गर्दै आएको छ । नेत्र ज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले चार बिघा जग्गा ओगटेको छ । पौडेलका अनुसार संघलाई जग्गाका भोगाधिकार भने मन्त्रिपरिषद्ले दिएको थियो । सीटीईभीटी र आँखा अस्पतालले प्रयोग गरेको जग्गाको कुनै पनि शुल्क भरतपुर अस्पतालले पाउँदैन ।
यति मात्रै होइन, अस्पतालको नौ बिघा जग्गा ४९ वर्षे सम्झौता गरेर २०५२ सालमा पुरानो मेडिकल कलेजलाई दिइएको थियो । यो नौ बिघाबाहेकको जग्गा गुरुयोजनाअनुसार भरतपुर अस्पतालकै स्वामित्वमा आउने देखिए पनि स्वामित्व लिन तदारुकता देखाएको पाइँदैन । त्यसैगरी ०७२ सालपछि सबै सरकारी जग्गा लिज ऐनअनुसार सम्झौतामा जानुपर्ने सरकारी नियम आए पनि पुरानो मेडिकल कलेज ०५२ सालको सम्झौतापछि परिवर्तित अरू नियमअनुसार शुल्क तिर्न तयार छैन । पुरानो सम्झौताअनुसार मेडिकल कलेजले भरतपुर अस्पताललाई वर्षमा ६५ लाख रुपैयाँ बुझाउँछ ।
मेडिकल सुपेरिन्टेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले नयाँ लिज ऐनअनुसार गए कम्तीमा पनि वर्षको १ करोड ५० लाख रुपैयाँ तिर्नुपर्ने बताए ।
त्यसो त मेडिकल कलेजले नियमित भाडा तिर्न पनि आनाकानी गर्दै आएको छ । नयाँ लिजअनुसार गए मेडिकल कलेजले तिर्नुपर्ने तीन करोड रुपैयाँ नतिरेको भनेर २०७४ सालको महालेखा परीक्षकको कार्यालयले समेत प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा हरेक वर्ष बेरुजु रकम र त्यसको ब्याजबापतको रकम जोडेर उल्लेख गर्दै आएको छ ।
सेवाग्राहीको चाप बढ्दै गए पनि अस्पतालले गत वर्षको साउनबाट ओपीडी टिकट निःशुल्क गरेको छ भने गत वर्षको मंसिरबाट अनलाइनबाट टिकटको व्यवस्था गरेको छ । ओपीडी अगाडि लाग्ने लामो लाइन र भीडभाड कम गर्न यस्तो व्यवस्था अस्पतालले गरे पनि सेवाग्राहीको चाप बढ्दै जाँदा ओपीडी अगाडि सधैं भीडभाड नै देखिन्छ ।
भौगोलिक हिसाबले पायक पर्ने ठाउँमा भएर मात्रै होइन, सस्तो सेवा शुल्कका कारण पनि अस्पतालमा सेवाग्राहीको भीड बढिरहेको बुझ्न कठिन छैन । जस्तो कि, निजी अस्पतालमा एक लाख हाराहारी पर्ने शल्यक्रिया यहाँ साढे १२ हजारमै हुन्छ । त्यस्तै निजी अस्पतालले नौ सयको हाराहारी शुल्क लिएर गर्ने एक्सरे यहाँ चार सय रुपैयाँमै हुन्छ । मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर पौडेलले भने, ‘सबै खाले सेवाहरू सस्तो छ । गुणस्तरीय पनि छ । बाहिरभन्दा कम्तीमा ५० प्रतिशत सस्तो त पर्छ ।’

Page 4
युवा ग्यालरी

विदेशी भूमिबाट नेपाल भ्रमणको निम्तो

- विनोद भण्डारी

(विराटनगर)
विराटनगरकी मधु लखोटिया (सारडा) दशकयता
बहराइनको बुदैया सहरमा बस्छिन् । ‘आर्ट फर अटिजम’मार्फत समाजसेवामा सक्रिय रहँदै आएकी ४५ वर्षीया मधु त्यहाँ मधुवनी, मिथिला र मण्डला आर्टको प्रशिक्षण पनि दिँदै आएकी छन् । त्योसँगै उनले लामो समयदेखि बहराइनका नागरिकलाई नेपाल घुम्नका लागि निम्तोसमेत दिँदै आएकी छन् ।
आफू पनि घुमघाममा रमाउने मधुले २०२३ अप्रिल ११ मा अस्ट्रेलियाको सर्वोच्च शिखर कोजेस्को र २०२२ जुन ८ मा अफ्रिकाको किलिमबन्जारो हिमालमा नेपालको झन्डा गाडेकी थिइन् । पर्यटनसम्बन्धी ‘एज एभरेस्ट इन माइहर्ट’, ‘मेनिफेस्टिङ माउन्टेन’ र ‘मुन माउटेन’ पुस्तककी लेखिकासमेत रहेकी मधु हाल बहराइन आइक्स र बहराइन्स ट्राभल एन्ड ट्रेकिङ कम्पनीकी ब्रान्ड एम्बेसडर पनि हुन् ।
बहराइन आर्ट सोसाइटीका अध्यक्ष रासिद अलखलियाले पाँच हजार अमेरिकी डलर सहयोग गरेपछि अस्ट्रेलियाको शिखर कोजेस्को आरोहण गरेको मधुले बताइन् । घुमघामका क्रममा मधु बहराइनसहित अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रिया, अस्ट्रेलिया, जर्जिया, अजरबैजान, टर्की, तान्जानिया र श्रीलंकाको भ्रमण गरिसकेकी छन् । भ्रमणका क्रममा उनले आफू जहाँ पुगे पनि त्यहाँका नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएर फर्कने गरेकी छन् ।
विराटनगरका जुगल लखोटियाकी छोरी मधु स्नातकसम्मको अध्ययनपछि भारतको रायगन्जस्थित माल्दहका सन्दीप शारदासँग विवाह गरिन् । त्यसपछि उनी पतिसँगै बहराइन पुगेकी हुन् । उनका पति सन्दीप त्यहाँ चार्टर एकाउन्टेन्ट छन् । मधु भने पेन्टिङ र लेखनमा पनि सक्रिय छिन् । उनी बहराइनमा ‘आर्ट फर अटिजम’मार्फत समाजसेवामा सक्रिय रहेकी उनका मामा विराटनगरका नन्दकिशोर राठीले बताए ।
उनी त्यहाँ मधुवनी, मिथिला र मण्डला आर्टको प्रशिक्षण पनि दिँदै आएकी छन् । उनका बुद्ध, नेपाली लेडी, मधुवनी, मिथिला र मण्डला आर्ट बहराइन फाइनान्सेल हार्डवर आर्ट प्रदर्शनीमा तीन पटक सहभागी गरियो । उक्त प्रदर्शनीमा विश्व प्रसिद्ध पेन्टर एमएफ हुसेनका पेन्टिङ पनि राखिएका थिए ।
प्रदर्शनीमा उनका ३६ वटा पेन्टिङ राखिएको थियो । त्यस अवसरमा बहराइनका लागि तत्कालीन नेपाली राजदूत पदम सुन्दास र भारतका राजदूत पीयूस श्रीवास्तवले सम्मान पनि गरे । मधुले भनिन्, ‘त्यस अवसरमा बहराइनका संस्कृतिमन्त्री रेदा फराजले ७ सय बहरानी दिनारमा ४ वटा पेन्टिङ खरिद गरेका थिए ।’ उनी त्यहाँ रेस्टुरेन्टका लागि पनि आर्टको डिजाइन गर्छिन् । मधुले पिजाहाट जिङ्गमा मुरल आर्ट पनि गरेकी छन् । बहराइन पूर्ण विकासका लागि उनले बनाएका सन्देशवाहक पेन्टिङका लागि त्यहाँको सरकारले मधुलाई सम्मान पनि गरेको थियो ।
सेफ विनित भाटियासँग एभरेस्ट बेस क्याम्पमा छोरी बचाउ अभियानमा जाने एकमात्र महिला सदस्य पनि हुन् दुई छोरीकी आमा मधु । ‘आफ्नो योग्यतालाई उमेर र स्थानले छेक्दैन,’ मधुले भनिन्, ‘गृहिणी होस् वा कामकाजी महिलाले आफूभित्र लुकेको प्रतिभा बाहिर ल्याउन सक्नुपर्छ ।’ उनी हरेक दिन बिहान एक घण्टा बहराइनीलाई योग पनि सिकाउँछिन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल भारत वर्षीय महेश्वरी महिला संगठनले उनलाई सशक्त महेश्वरी ग्लोबल महिलाको उपाधिले सम्मान पनि गरेको छ ।
त्यति मात्र होइन रोजगारीका लागि त्यहाँ पुगेका नेपालीलाई साताको एक घण्टा नेपाली संगीत सुनाउँदै आएकी छन् । कोभिड संक्रमण फैलन थालेपछि बहराइन सरकारले १०४ थोप्लो २ मेघाहर्ज सरकारी रेडियोमार्फत जनतालाई सचेत गराउन विभिन्न भाषामा अभियान सुरु गर्दा मधुलाई पनि त्यहाँको सरकारले साताको एक घण्टा नेपाली भाषामा कोभिडबाट सुरक्षित रहन जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि छनोट गर्‍यो । त्यो कार्यक्रम प्रभावकारी भएपछि मधु विदेशी नागरिकलाई नेपाल घुम्ने निम्तो गर्दै पदमार्गमा निस्किन उत्साहित भएको बताउँछिन् ।
त्यसपछि उनले बहराइनमा रहेका नेपालीका लागि नेपाली भाषामा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिन् । प्रत्येक शनिबार साँझ ६ देखि ७ बजेसम्म रेडियोमार्फत नेपाली कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । मधुले वाटसवमा कान्तिपुरसँग भनिन्, ‘त्यो कार्यक्रममार्फत मैले नेपाली भाषामा चेतनामूलक सन्देशमात्र प्रसारण गरिन्, त्यहाँ नेपाली गीतसंगीतको पनि प्रचार गरे अनि यहाँका नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह पनि गर्दै आएको छु ।’ अहिले पनि त्यो कार्यक्रम नियमित छ । सानोमुलुक बहराइनको बुदैया सहरमा मात्र एक हजारभन्दा बढी नेपाली युवायुवती रोजगारी गर्दै आएका छन् । उनीहरूका लागि यो
रेडियोको कार्यक्रम लोकप्रिय बन्दै गएको छ । यसका लागि उनलाई तत्कालीन नेपाली राजदूत पदम सुन्दासले सम्मान पनि गरेका थिए ।

युवा ग्यालरी

अन्तरिक्षमा हिँड्ने पहिलो अमेरिकी महिला

- कान्तिपुर संवाददाता


सन् १९८४ मा आजकै दिन (अक्टोबर ११) मा अन्तरिक्षमा पहिलो पटक अमेरिकी महिला हिँडेकी थिइन् । क्याथरिन ड्वायर सुलिभानले अन्तरिक्षमा तीन घण्टा तीस मिनेट हिँडेकी थिइन् । उनी अर्का अन्तरिक्ष यात्री डेभिड लिस्थ्मासँगै हिँडेकी थिइन् ।

युवा ग्यालरी

टोरन्टोमा नेपथ्य

- कान्तिपुर संवाददाता

काठमाडौं (कास)– सांगीतिक ब्यान्ड नेपथ्यले टोरन्टोस्थित ‘मेस्सी हल’ मा कार्यक्रम गर्दै आफ्नो क्यानडा यात्रा टुंगाएको छ ।
पहिलो पटक क्यानडामा पाइला टेकेको ब्यान्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हुँदै अन्त्यमा टोरन्टोमा कार्यक्रम गरेको हो । टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए ।
ब्यान्डले पहिलो प्रस्तुतिका रूपमा ‘कोशीको पानी यो जिन्दगानी’ गाएको थियो । त्यसपछि लगातार नयाँ र पुराना गीतहरू एकपछि अर्को प्रस्तुत हुँदै गए । ‘यति महत्त्वपूर्ण हलमा उस्तै महत्त्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पाले भने, ‘दर्शकका रूपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।’ मिङमाका अनुसार प्रस्तुतिदेखि लिएर सहभागितासम्मका हिसाबले यस्तो भव्य अनुभूति यसअघि भएको थिएन ।
कन्सर्टमा गायक अमृत गुरुङलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

Page 5
समाचार

आममाफी पाएका गाउँ पस्दा त्रासमा पीडित परिवार

- मधु शाही,घनश्याम गौतम

(काठमाडौं/बुटवल)
काठमाडौंमा बस्दै आएकी गुल्मीकी २६ वर्षीया पार्वती विश्वकर्मा गाउँमै रहेकी आमा गीतालाई छिनछिनमा फोन गर्छिन् । आमाको हालखबर सोध्छिन् । आमाबाट ‘ठिकै छु’ जवाफ आउँछ । छोरीलाई डर नहोस् भनेर मात्रै आमाले आफू ठिकै रहेको जवाफ दिन्छिन् ।
खासमा ठीक भएको भने पटक्कै छैन । तुलबहादुर विश्वकर्माको हत्याका दोषी पोमबहादुर घर्ती राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका दिन बाँकी सजाय माफी पाएर छुटेसँगै पीडित परिवारमा चैन छैन । आममाफी पाएर पोमबहादुर गाउँ पुगेका छन् । ‘विजयोत्सव’ जस्तो भावभंगीमा पोमबहादुर गाउँ डुल्छन् । जंगलमा पोमबहादुर संरक्षित वन्यजन्तुको चोरीसिकारी गर्न जाँदा उनले चलाएको गोलीबाट तुलबहादुरको मृत्यु भयो । त्यस घटनामा दोषी ठहर भई तोकिएको कैद भुक्तान नगरी राष्ट्रपतिबाट माफी पाएर उनी छुटे । यता पीडित परिवार भने हत्याका दोषीलाई निस्फिक्री गाउँमा देख्दा थप आहत बनेको छ ।
पढ्न काठमाडौं आएकी छोरी पार्वती घरमा एक्लै रहेकी आमाको बारे चिन्तित छिन् । ‘बाबुको हत्याका दोषी गाउँमा पुगेको छ । बुबा त गुमाए, अब आमा पनि मार्छ कि भन्ने डर छ,’ पार्वती भन्छिन् । २०७७ माघ ३ मा रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ४७ वर्षीय तुलबहादुर विक पत्नी गीतासँगै घाँस काट्न नजिकै आरेवाखोला जंगल पुगेका थिए । गीता खोला पारि घाँस काट्दै थिइन् । तुलबहादुर भने खोला वारि थिए । दिउँसो दुई बजेतिर अकस्मात् बन्दुक पड्केको आवाज आयो । ‘बुढा घाँस काट्दै हुनुन्थ्यो, अचानक गोली चल्यो,’ गीता त्यस दिनको घटना सम्झिँदै भन्छिन्, ‘अइया नि आमा मरे भन्दै आवाज आयो । म खोला पारि थिए ।’ बन्दुक पड्किएपछि गीताले आफन्तीलाई बोलाएर जंगल पुग्दा तुलबहादुरको मृत्यु भइसकेको थियो । गोली गुल्मीदरबार गाउँपालिका–१, ओरेवाखोलाका ३१ वर्षे पोमबहादुर घर्तीले चलाएका थिए । हत्यामा संलग्न घर्ती घटनालगत्तै फरार भएका थिए । अर्को महिना फागुन २९ मा प्रहरीले उनलाई पक्राउ गर्‍यो ।
पक्राउपछि पोमबहादुरले आफूले जंगलमा कालिज मार्ने क्रममा पड्काएको बन्दुक लागेर मृत्यु भएको प्रहरी र अदालतमा बयान दिएका थिए । प्रहरीले उनलाई कर्तव्य ज्यान, अवैध हातहतियार एवं खरखजना र वन्यजन्तुसम्बन्धी मुद्दामा प्रतिवादी बनाएर मुद्दा चलाएको थियो ।
जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले २०७८ फागुन १२ मा हत्याका अभियुक्त पोमबहादुरलाई साढे १० वर्ष कैद र १ लाख पाँच हजार जरिवाना हुने फैसला सुनायो । इजाजत नलिई हतियार प्रयोग गरेको कसुरमा थप २ वर्ष कैद र २० हजार जरिवाना साथै एउटै
घटनामा तीनवटा कसुर गरेकोमा थप साढे तीन वर्ष कैद र ३५ हजार जरिवानासमेत गरी साढे १० वर्ष कैद र १ लाख ५ हजार जरिवाना हुने फैसला भएको थियो ।
जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि पोमबहादुर उच्च अदालत तुलसीपुर इजलास बुटवलमा पुनरावेदन गरेका थिए । उच्चका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको संयुक्त इजलासले २०७९ मंसिर १३ गते पोमबहादुरलाई ४ वर्ष कैद, ३० हजार जरिवाना र ७५ हजार क्षतिपूिर्त ठहर हुने फैसला गरेको थियो । फैसलामा कर्तव्य ज्यान मुद्दामा तीन वर्ष कैद र ३० हजार जरिवाना तथा एकीकृत कसुर कायम हुँदा पछिल्लो कसुरबापत भएको सजायको आधा अर्थात् कैद एक वर्ष र १० हजार जरिवानाको फैसला भयो । पीडित परिवारले प्रतिवादीबाट ७५ हजार क्षतिपूर्ति भराउने निर्णय भयो । पोमबहादुर कैद भुक्तानकै क्रममा थिए । फैसलाअनुसार उनी २०८७ सम्म कैदमा बस्नुपर्ने थियो । तर, तोकिएको सजाय भुक्तान नगर्दै असल चालचलन भएको कैदीका रूपमा उनलाई रिहा गर्न सिफारिस गरिएको जिल्ला कारागार गुल्मीका प्रमुख रेश्मीराम पन्थीले बताए । त्यसकै आधारमा कारागार व्यवस्थापन विभाग, गृह मन्त्रालयबाट हुँदै मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपति रामचन्द्र पौडेलमार्फत पोमबहादुर असोज ३ मा बाँकी सजाय माफी पाएर छुटेका हुन् । त्यसपछि गाउँ पुगेका उनलाई देख्दा पीडित परिवारले अन्यायको महसुस गरेको छ ।
पोमबहादुरले माफी पाएको थाहा पाएपछि विक परिवार आक्रोशित सँगै त्रसित पनि छ । जेल चलान भएको डेढ वर्षमै कसरी जेल मुक्त भए भन्नेमा पीडित परिवारले जवाफ भेटिरहेका छैन । अदालतबाट न्याय पाए पनि राष्ट्रपतिको माफीपछि भने न्यायमाथिको भरोसा एकाएक घर्मघराएको छ । बुबाको हत्यापछि पार्वतीले घरको मूली मान्छे गुमाइन् भने पत्नी गीताले सहारा । कमाएर खुवाउने, खेतबारी जोतेर भए पनि छोराछोरी पाल्दै आएका तुलबहादुरको मृत्युले परिवार टुहुरो बनेको छ । ‘बुबा बितेपछि पढाइ नै रोकिएको थियो,’ छोरी पार्वती भन्छिन्, ‘जागिरे भएर घर सम्हाल्नुपर्ने जिम्मेवारी थपियो ।’ उनी काठमाडौंमा रोजीरोटी खोज्दै भौंतारिएकी छन् । पढाइ नाममै भएको छ । एक्ली आमाले घर खर्च जुटाउन हम्मे छ । पार्वती भन्छिन्, ‘बुबासँगै हाम्रो घरको खुसी नै लुटियो ।’ अपराधीले पाउनुपर्ने सजाय नै नपाई छुट्कारा पाएको देख्दा पार्वतीको परिवार न्यायप्रतिको विश्वासमा बादल छाएको छ ।
हत्या अभियोगमा जेल परेका पोमबहादुर छुटेपछि मृतककी श्रीमती गीताकुमारी विश्वकर्माले दिनदहाडै बन्दुकले हानेर हत्या गरेको व्यक्ति कैद नपाई छुटेर अहिले गाउँमै डुल्न थालेपछि निन्द्रा लाग्न छोडेको बताइन् । ‘अस्ती जेलबाट निस्केको भन्ने सुने । रातभर निद्रा लागेन,’ उनले फोनमा भनिन्, ‘मलाई पनि कति बेला के हुने हो भन्ने डरले अहिले कान्छीसासूको छोरालाई घरमासँगै राखेर बसेकी छु ।’ नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगल भनिने योगराज ढकालको सजाय माफीको विरोधमा भारती शेर्पा अनशन छिन् । उनलाई नै साथ दिएर गुल्मीका विक परिवारले पनि अपराधी छुटेको विरोधमा अनशन बस्ने तयारीमा छन् ।
२६ वर्षीया पार्वतीले बुबाको हत्यारालाई राज्यले उन्मुक्ति दिएको भन्दै भारतीसँगै अनशनमा बस्ने बताइन् । ‘अपराधी छुटेपछि झनै डर लागेको छ, गाउँमा बस्न सकिँदैन,’ उनले भनिन्, ‘हामी सबैले भारतीको साथमै अनशन बस्दै छौं ।’ श्रीमान्को हत्या भएपछि गीताले एक्लैले दुःखजिलो गरेर हुर्काइन । ‘रातभरि निद्रा पर्दैन,’ उनी भन्छिन्, ‘सजाय पूरा नपाउँदै अपराधी छुट्छ भने हामीलाई कसले बचाउला ?’
आइतबार पीडित गीतासहित दलित अधिकारकर्मीहरूले न्याय र सुरक्षा माग्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । प्रजिअ टेकबहादुर केसीले पीडित परिवारलाई सुरक्षा दिने विषयमा कुनै कमी नहुने बताउँदै बाँकी कैद मिनाहाको सिफारिस कानुनअनुसार सबै प्रक्रिया पुगेकाको हकमा मात्र भएको बताए । ‘पीडितलाई सुरक्षा दिने विषयमै मैले सबै निर्देशन दिएको छु,’ उनले भने, ‘त्योबाहेक अरू सबै प्रक्रिया पुगेर कैद माफी भएकाको विषयमा अहिले हामीले केही गर्न सक्ने अवस्था छैन ।’ कैद माफी पाएर छुटेका घर्तीले भने आफू कानुनअनुसार छुट सुविधा पाएर ३२ महिना १६ दिन जेलपछि छुटेको बताए । ‘जंगलमा मृग हान्ने क्रममा मिस फाएर भएपछि घटना घट्यो, म पनि दुःखी छु,’ उनले भने, ‘त्योबाहेक मैले कसैलाई केही भनेको पनि छैन र मैले केही भन्ने कुरा पनि होइन, म घरबाट अहिलेसम्म बाहिर टाढा कतै गएको पनि छैन । त्यसैले डराउनु पर्दैन ।’ आफू लामो समय
जेल बसेर आएकाले केही दिनदेखि घरमै आराम गर्नुपर्ने अवस्थाले गर्दा पीडितलाई भेट्न जान नपाएको बताए ।

 

Page 6
सम्पादकीय

पारिवारिक इजलास सराहनीय पहल


महिलासँग सम्बिन्धत मुद्दामा छुट्टै सुनुवाइ गर्न काठमाडौं जिल्ला अदालतमा ‘पारिवारिक इजलास’ गठन गरिएको छ । महिलावादी भएका मुद्दालाई प्राथमिकता दिँदै छिटोछरितो छिनोफानोका लागि अलग्गै इजलास स्थापना गर्ने न्यायालयको कदम सराहनीय छ । यसको प्रभावकारी सञ्चालनबाट पीडित महिलाले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य हुने र अदालतप्रति भरोसा बढ्ने विश्वास गरिएको छ ।
घरेलु हिंसा, वैवाहिक बलात्कार, अंशबन्डा र मानाचामलजस्ता मुद्दाका लागि द्रुत सुनुवाइको अदालत (फास्ट ट्र्याक कोर्ट) गठन गर्नुपर्ने माग महिला अधिकारकर्मीले लामो समयदेखि उठाउँदै आएका थिए । सर्वोच्च अदालतले २०६६ सालमै महिला पीडित भएका फौजदारी मुद्दा खासगरी घरेलु हिंसाबाट पीडितको मुद्दा हेर्ने छुट्टै फास्ट ट्र्याक कोर्ट गठन गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो । ‘मुद्दाको कारबाही छिटोछरितो सम्पन्न गर्नका लागि कार्यविधि कानुनमा गर्नुपर्ने सुधारसम्बन्धी अध्ययन प्रतिवेदन, २०७२’ मा समेत जिल्ला अदालतमा पारिवारिक इजलास गठन गर्न सुझाव उल्लेख थियो । सर्वोच्चकै निर्देशनात्मक आदेश र अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन नभइरहेका बेला प्रधानन्यायाधीशमा सिफारिस भएपछि संसदीय सुनुवाइका क्रममा विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलास स्थापनालाई पनि महत्त्वपूर्ण कामका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएको डेढ महिनामै पारिवारिक इजलास गठन भएको हो । छोटो समयमै सुरु भएको प्रतिबद्धता कार्यान्वयनले श्रेष्ठका पालामा न्यायालय सुधारका थप पहलकदमी हुने आशासमेत जगाएको छ ।
महिलावादी भएका पारिवारिक मुद्दालाई अरूसरह सुनुवाइ गर्दा पीडित महिलाले बेलैमा न्याय नपाउने अवस्था छ । न्यायको सर्वव्यापी सिद्धान्तले नै ‘ढिला न्याय दिनु न्याय नदिनुसरह हो’ भन्छ । न्यायसम्पादनको ढिलासुस्तीले न्यायको ढोका ढकढक्याउन पनि हतोत्साह गर्छ । त्यसैले मुद्दाको चाङ बढी भएको काठमाडौं जिल्ला अदालतमा महिलाको मुद्दालाई प्राथमिकताका साथ सुनुवाइ गर्न पारिवारिक इजलास गठन गरिएको हो । काठमाडौं जिल्ला अदालतमा हाल ३० हजार हाराहारी मुद्दा रहेकामा पारिवारिक इजलासमा पेस हुने महिलावादी भएका पारिवारिक मुद्दा करिब एक हजार छन् । तिनलाई समान रूपले अघि बढाउँदा फैसलाका लागि वर्षौं कुर्नुपर्ने हुन सक्थ्यो । छुट्टै पारिवारिक इजलास गठनपछि द्रुत गतिमा सुनुवाइ भएर पीडित महिलाले बेलैमा न्याय पाउन सक्ने अवस्था बनेको छ । अब न्यायाधीश र कानुन व्यवसायी दुवैले पारिवारिक इजलासमा परेका मुद्दामा पेसी नसार्न र नियमित सुनुवाइ गरेर सकेसम्म छिटो न्याय निरूपण गर्न प्रतिबद्ध रहनुपर्छ ।
वर्षौंदेखि न्यायाधीश अभाव, मुद्दा सुनुवाइको पेसी नचढेर वा पेसीमा परे पनि विभिन्न कारणले सरेर/सारिएर छिनोफानो ढिला हुँदै गर्दा अदालतमा मुद्दा थुप्रिएको थुप्रिएकै देखिन्छ । वर्षौं अदालत धाइरहँदा ऋणमा डुब्नुपर्ने वा झन्झटका कारण पीडित अदालत जानै हिचकिचाउने वा बीचमै मुद्दा छाड्नुपर्ने अवस्था छ । बलात्कारजस्ता जघन्य अपराधका मुद्दालाई सुनुवाइमा प्राथमिकता नराखिँदा प्रलोभन र धम्कीका कारण पीडितले बयान फेर्ने, मुद्दा फिर्ता लिने गरेको देखिन्छ । कैयन् महिला न्यायालय जानुको साटो चुपचाप हिंसा सहेर, पीडा लुकाएर बसिरहेका छन् । न्यायालयमा सहज पहुँच र निष्पक्ष एवं छिटोछरितो न्यायसम्पादनको प्रत्याभूति हुन सक्यो भने हिंसामा परेका महिलाले न्यायको ढोका ढकढक्याउन सक्छन् । पीडकहरू फटाफट कानुनी कारबाहीको दायरामा आउन थालेपछि महिलामाथि हिंसाका घटना पनि कम हुन सक्छन् । अर्थात् पारिवारिक इजलासको प्रभावकारिताले हिंसारहित समाज निर्माणमा योगदान पुग्न सक्छ ।
काठमाडौं जिल्ला अदालतमा अहिले नमुना अभ्यासका रूपमा पारिवारिक इजलास सुरु गरिएको हो । नेपालमा पहिलो पटक यस्तो अभ्यास भए पनि अमेरिका लगायत धेरै देशमा लामो समयदेखि विशिष्टीकृत अदालतका रूपमा पारिवारिक अदालत सञ्चालन छन् । द्रुत गतिमा पारिवारिक विवाद हेर्ने गरी छुट्टै अदालत गठन गर्न कानुन नै बनाउनुपर्ने भएकाले यहाँ पारिवारिक इजलास सुरु भएको देखिन्छ । न्यायमा महिलाको सहज पहुँच कायम गर्न काठमाडौंबाट सुरु गरिएको पारिवारिक इजलासलाई प्रभावकारी बनाउँदै मुद्दाको चाप बढी भएका अन्य अदालतमा क्रमैसँग विस्तार गर्न जरुरी छ । पारिवारिक खिचलो, यौन तथा घरेलु हिंसा, सम्बन्धविच्छेद र मानाचामलजस्ता महिलावादी मुद्दालाई छुट्टै र छिट्टै छिनोफानो गरेर मात्र पुग्दैन, निष्पक्ष एवं लैंगिक संवेदनशीलताका दृष्टिले निरूपण पनि हुनुपर्छ । त्यसैले त्यस्ता इजलासमा लैंगिक समानता र न्यायका बारेमा विशेषज्ञता भएका न्यायाधीश व्यवस्था पनि गर्नुपर्छ ।

सम्पादकलाई चिठी

‘कुर्सीमा पुग्ने र राज्य दोहन गर्ने खेल’

'कोशीमा मुख्यमन्त्री आकांक्षीको लर्को’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

संघीयता देशको बजेट भस्म पार्ने ठाउँ भयो । लुछाचुँडीको यो संघीयता घाँडो भयो । कच्याककुचुक परेको सिल्भरजस्तो भयो संघीयता । बरु यसलाई खारेज गर्दा के होला ?
– पुष्कर न्यौपाने

आदरणीयहरू एउटा ढुंगाको मुख्यमन्त्री स्थापना गरौं, अरू बाँकी रहेन अब ।
– जीवन बन्जाडे

सबैभन्दा सजिलो उपाय भनेको जसपाको एक जना सांसद हुनुहुन्छ, उहाँलाई सबै मिलेर मुख्यमन्त्री बनाए हुन्छ ।
– गणेश पौडेल

जनमतको कदर गर्ने हो भने कसैलाई पनि सरकार सञ्चालनको जनादेश छैन । नयाँ जनादेशमार्फत अघि बढ्नु नै श्रेयस्कर हुन्छ अर्थात् मध्यावधि निर्वाचन हो ।
– चूडामणि राई

पालैपालो मिलीजुली खानु, हामीले केही भनेका छैनौं त । बरु चालु आर्थिक वर्षको कर तिर्न ढिलो भैसक्यो होला । मुलुकमा कर तिरेर हात्ती पाल्नुपर्ने अवस्था रहेको छ ।
– प्रकाश निरौला

कोशीमा ठूलो पार्टी एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार बनाऊ । यो लथालिंग र भद्रगोल भएको कांग्रेसको कारणले हो । कांग्रेसले विगतमा माओवादी र माधव नेपाललाई नबोकेको भए अहिले देशको अवस्था यस्तो हुने थिएन । अब बुद्धि पुर्‍याऊ कांग्रेस, एमालेले अहंकार त्याग ।
– राजाराम दाहाल

यी नेताहरूलाई कुर्सीमा पुग्ने र राज्य दोहन गर्ने चिन्ता मात्र छ । अकुत सम्पत्ति जोड्ने चिन्ता छ । यिनीहरूलाई देश र जनताका बारेमा मतलब छैन । जनताले ट्याक्स नेताहरूलाई मोजमस्ती गर्न पक्कै तिरेका होइनन् । संघीयता देशका लागि क्यान्सर साबित भैसक्यो, सघीयता खारेज गर्नुपर्छ ।
– सानुकाजी

प्रदेश सरकारको काम मुख्यमन्त्रीको फोहोरी गणितको खेलबाहेक केही छैन ।
– टेकराज गिरी

पाँच वर्षमा ५ दर्जन मुख्यमन्त्री फेरिने लुटतान्त्रिक व्यवस्था खारेज गर ।
– रमेश गौतम

दाबी जतिले गरे नि अन्त्यमा जाने मध्यावधितिरै हो ।
– जगतनारायण सहानी

सिनोलाई सिंहले घेरेजस्तै बनाए प्रदेशलाई ।
– रामजी दाहाल

२८ दिने मुख्यमन्त्री त होला नि ।
– भास्कर पोखरेल

सम्पादकलाई चिठी

मुलुकसुहाउँदो उद्योगधन्दाको प्रवर्द्धन

नरबहादुर थापाको ‘संरचनागत सुधारको पर्खाइमा अर्थतन्त्र’ विषयक लेख दयनीय आर्थिक सुधारको विषयसँग सम्बन्धित छ । उद्योग सञ्चालनमा उच्च लागत एवं पहिलेदेखि चलिरहेको प्रक्रियागत झन्झटका कारण लगानीकर्ताको आकर्षण घटेको सन्दर्भ यथार्थपरक छ । वस्तुतः नेपालमा उद्योगमैत्री वातावरण बन्न नसक्दा स्वदेशी, विदेशी लगानीकर्ताले जोखिम मोल्न खोजेका छैनन् । विप्रेषण, शोधनान्तर र विदेशी विनिमय सञ्चितिबाहेक घरेलु अर्थतन्त्रको कुनै पनि सूचक सुखद देखिँदैन । राजस्व घट्दो क्रममा हुनु, बैंक कर्जा सन्तोषजनक नहुनु, ऐनहरू लगानीकर्ता अनुकूल बन्न नसक्नुले नै उद्योग विस्तार हुन नसक्नुको मुख्य समस्या हो ।
लेखकले वित्तीय संस्थाहरूको संख्या ह्वात्तै घट्दा कारोबारमा समस्या थपिएको छ । कर्मचारीले लामो समयसम्म तनावमा काम गर्नुपरेको छ । कानुनहरू उद्योगमैत्री नभएको तर्क पटक–पटक उठे पनि समस्या यथावत् छ । लघुवित्त र बचत तथा ऋण सहकारीहरूमा देखिएका समस्या यथावत् छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू शिथिल बन्दै जानुले पनि अर्थतन्त्र ओरालो लागेको हो । पाँच दशकअघि मात्र जन्मिएको बंगलादेशले तयारी पोसाक, फर्मास्युटिकल, चिकित्सा एवं सूचना प्रविधि, कृषि लगायत साना व्यवसायीलाई उकासेर आर्थिक क्रान्ति नै गरेको छ । स–साना उद्योगधन्दालाई प्राथमिकता दिएका कारण छोटो समयमै प्रतिव्यक्ति आयमा भारत, पाकिस्तानलाई पछि पार्न सफल भएको अनुकरणीय उदाहरण रहेको छ ।
हामीले विश्वका चर्चित टावरहरू हेरेर सिंगापुर, न्युयोर्क लगायतका गगनचुम्बी भवन सम्झेर विकास योजना बनाउँदै आएका छौं । यसले राजनीतिक नेतृत्वले विकासको परिभाषा गलत ढंगले सम्प्रेषण गरिरहेको छ । एक प्रकारले नेताले भ्रम छरिरहेका छन् । गगनचुम्बी भवनको कल्पना गरेर गरिबी न्यूनीकरण गर्ने कार्यक्रम छैन । भ्रमण दशकको एक वर्ष बित्न लाग्दासमेत पर्यटन प्रवर्द्धनमा सरोकारवालाले गरेको कामको परिणाम देखिएको छैन । साढे तीन दशकदेखि आर्थिक समस्याको ‘ग्राउन्ड रियालिटी’ नबुझी जिम्मेवार नेतृत्व विकासको नाममा भुइँफुट्टे शैली देखाउँदै आएको छ । यथार्थमा पानी, कृषिउपज, घरेलु, हस्तकलाका सामग्री निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सक्ने हाम्रो सम्पत्तिको पटक्कै सदुपयोग गर्न सकिएको छैन । ‘घाँटी हेरी हाड निल्नु’ भनेझैं मौलिकताबाट भागिरह्यौं भने अर्थतन्त्र अरू धराशायी बन्ने निश्चित छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

दृष्टिकोण

आप्रवासन र दिगो विकासका लक्ष्यहरू

- मीना पौडेल


आप्रवासन, खास गरी श्रम आप्रवासन कुनै पनि समाजको निर्माण प्रक्रियासँगै जोडिएर आउने एउटा आयामका रूपमा रहन्छ भन्ने कुरा विश्वका सबै खाले समाजका इतिहासमा पाइन्छ । र, त्यस प्रक्रियागत आयाममा नेपाली समाज पनि फरक रहने कुरा भएन । भिन्नताचाहिँ समाजको चरित्र, मुलुकको शासन पद्धति, उत्पादन प्रणाली र त्यससँग जोडिएका आर्थिकसहित अन्य नीतिगत खाका र जनजीविकाका आधारहरू अनुसार आप्रवासन सम्बन्धी बुझाइ र आप्रवासनको सकारात्मक प्रतिफलको उपयोगमा भेटिन्छ । चाहे त्यो औपनिवेशिक शासकले दासका रूपमा बिनाज्याला कज्याएका आप्रवासी श्रमिकहरूले निर्माण गरेको आजको ‘सभ्य’ र ‘विकसित’ भनिएको पश्चिमा श्रम बजार होस् वा पछिल्ला दशकहरूमा सशक्त अर्थतन्त्रका रूपमा उदाएका एसियाली र अफ्रिकी रास्ट्रहरू होऊन् अथवा आजको भरभराउँदो अरब विश्व नै किन नहोस्, कहीँ न कहीँ कुनै न कुनै स्वरूपबाट यी समाजको निर्माण, तिनको बजारको चलायमानको मियो र औद्योगिकीकरणको जग आप्रवासी श्रमिकहरूको पसिनाले सिञ्चित भएकामा सबैको मतैक्य छ । यद्यपि त्यसलाई व्याख्या–विश्लेषण गर्ने र जस लिने सवालमा राजनीतिक विभाजन भने पाइन्छ ।
उसो त आप्रवासन दैनिक जीविकाका लागि बुझिएको अथवा श्रम किन्ने र बेच्ने तहको साँघुरो घेरामा मात्र सीमित छैन । आफ्नै घरेलु राजनीतिक पूर्वाग्रहका कारण देश छोड्नुपर्ने बाध्यतामा पारिएका र अनेक बहानामा लादिएका युद्धबाट विस्थापित नागरिकहरू, प्राकृतिक र नीतिगत त्रुटिसृजित प्रकोपका कारण थातथलो छोड्न बाध्य पारिएका समुदायहरू या विभिन्न लोभलालच, ठगी वा झुटा सपना बाँडी बेचबिखन र तस्करीमा पारिएका व्यक्तिहरू नै किन नहोऊन्, ती सबै बृहत् आप्रवासनका विविध आयामका पात्र हुन्Ù कोही श्रमिकका रूपमा, कोही पीडितका रूपमा, कोही आफ्नै मुलुकभित्र विस्थापितका रूपमा त कोही शरणार्थीका रूपमा । यी सबै आयामबारे उल्लेख गर्न यस आलेखमा सम्भव र सान्दर्भिक दुवै नहोला । त्यसैले यहाँ वर्तमान अर्थ व्यवस्थाको मियो र समृद्धिका रूपमा योगदान गरिरहेको श्रम आप्रवासनको प्रसंग र यसका विकास तथा समृद्धिजस्ता मीठा नाराहरूसँगको अन्तरसम्बन्धबारे थोरै कोट्याउने प्रयास गरिएको छ ।
अर्थव्यवस्थाको मियो यस अर्थमा कि, श्रमिक पठाउने नेपालजस्तो मुलुक र श्रमिक भित्र्याउने अरब लगायतका श्रम गन्तव्यहरूको आन्तरिक अर्थतन्त्र थेग्ने अर्थमा यी श्रमिकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ, चाहे त्यो विप्रेषणको रूपमा होस् या सीप र दक्षताको अर्थमा अथवा विविध अनुभवले सिञ्चित सामाजिक–सांस्कृतिक पुँजीका रूपमा । यद्यपि पैसाको हिसाबकिताबमा साँघुरिएको विप्रेषणको बुझाइले गर्दा नेपाली र नेपालजस्तै विप्रेषणले धानिएका मुलुकहरूले आप्रवासन–आर्जित सामाजिक–सांस्कृतिक र मानवीय पुँजीलाई समाज रूपान्तरणमा उपयोग गर्न अझै केही समय पर्खनुपर्नेछ ।
अनि समृद्धिका कुरा गर्दा जोडिएर आउने पक्ष हो— विकास । हुन त समृद्धि र विकासजस्ता गुलिया शब्दहरू सरकार, गैसस, तिनका दाता र बजार सबै पक्षका लागि आकर्षक हुन्छन् अनि सबैभन्दा बढी प्रयोग गरिने अर्को फाँट हो— राजनीति । विकास र समृद्धिलाई चुनावी नारा बनाएर मतदातामाझ नजाने उम्मेदवार त छैनन् नै, हाम्रो घरेलु सन्दर्भमा वर्तमान संविधानसँगै यी शब्द नेता, प्रशासक, गैसस र तिनका दाता मात्र होइन, सामान्य नागरिकको पनि जनजिब्रोमै भिजिसकेका छन् ।
आप्रवासन, विकास र समृद्धिजस्ता आर्थिक, सामाजिक र राजनीतिक महत्त्व राख्ने शब्दावलीको अर्थ र तिनको अन्तरसम्बन्ध कस्तो छ र त्यसप्रतिको बुझाइ माथि उल्लेख गरिएका पक्ष र आम समुदायमा कस्तो छ भन्ने सन्दर्भमा विश्वका अनेक मञ्चमा बहसहरू पनि हुने गर्छन् । यस्तै बहस हुने एउटा थलो संयुक्त रास्ट्र संघ हो र उसको बहसको पछिल्लो मूल विषय हो— दिगो विकास लक्ष्य । दिगो विकास लक्ष्य संयुक्त रास्ट्र संघको पछिल्लो नारा हो र यस्तै अनेक नाम गरेका आवधिक लक्ष्यकेन्द्रित योजनाहरू उसका प्रभावशाली दाता सदस्यराष्ट्रहरूको अगुवाइमा पहिला पनि नभएका होइनन्, सहस्राब्दी विकास लक्ष्य या अरू कुनै नाममा । यिनको प्रतिफलको विश्लेषण आफैंमा छुट्टै गम्भीर बहसको विषय हो ।
त्यस्तो बहसले नेपाली नीति निर्माण तहलाई कत्तिको छोएको छ भन्ने सन्दर्भमा त्यति चित्तबुझ्दो जवाफ छैन । किनकि नेपालको विकासको बहस सम्बन्धित सरकारी र नागरिक तहमा भन्दा पनि नेपालका अनुदान र ऋण लगानीकर्ता दाताहरूबीच बढी हुने गर्छ । आफ्नो अस्तित्व पुष्टि गर्न असफल नेपालको राष्ट्रिय योजना आयोग र त्यससँग सहकार्य गर्ने भनिएका संघीय र प्रादेशिक निकायहरू त केवल राजनीतिक नियुक्तिका अड्डा मात्र हुन्, विकासे खाका र त्यसलाई लाग्ने खर्चको चाँजोपाँजो मिलाउने त मूल रूपमा दाताले नै हो । यो नियति दशकौंदेखिको हो र पछिल्ला दुई दशक, मुख्य गरी गरिबी निवारण रणनीतिक पत्र भनेर बढी चिनिने दसौं आवधिक योजनापछि त झनै मौलाएको पाइन्छ ।
संयुक्त राष्ट्र संघकै विश्लेषणमा आंशिक मात्र नतिजा प्राप्त अघिल्लो सहस्राब्दी विकास लक्ष्यलाई आधार बनाई पछिल्लो विश्वव्यापी विकास योजनालाई दिगो विकास लक्ष्य नाम दिई १७ वटा मूल लक्ष्य तय गरिएका छन् । र सदस्यराष्ट्रहरूले आआफ्ना राष्ट्रिय योजना र विकासको मूल नाराका रूपमा समेत अंगीकार गरी लक्ष्यहरूको अनुगमन गरिरहेका छन् । दिगो विकास लक्ष्यप्राप्तिको तोकिएको अवधि सकिन सात वर्ष पनि बाँकी छैन र विभिन्न स्वतन्त्र र संयुक्त राष्ट्र संघ आबद्ध निकायहरूले नै गरेका आवधिक मूल्यांकनलाई अध्ययन गर्दा त्यति चित्त बुझ्ने प्रतिफल आजसम्म भेटिएको छैन । यद्यपि प्रतिफललाई समय र परिवेश सापेक्षताको दृष्टिकोणबाट विश्लेषण गर्नुपर्छ किनकि कार्यान्वयन र प्रतिफललाई प्रभाव पार्ने भनेका स्थानीय परिवेश, समाजको संरचनागत र नीतिगत धरातलले नै हुन् । सबै खाले समाज अनेक कोणबाट विभेदी छन् ।
यता समाज र सम्बन्धित राज्य संरचना विभेदी छन् भने उता दिगो विकास लक्ष्यका मूल लक्ष्यहरू आफैंमा यति महत्त्वाकांक्षी छन् कि, ती सबै पूरा भए भने समाज वर्गविहीन, हिंसाविहीन, सबै प्रकारका विभेदविहीन, समानताको नमुना एउटा आदर्श समाजमा रूपान्तरण हुन्छ । महिला समानताÙ जातीय विभेद र रंगभेदको अन्त्यÙ सम्मानजनक श्रम र समान ज्याला लगायत समग्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चितताÙ वातावरण संरक्षणसहित तिनलाई प्राप्त गर्न आवश्यक रणनीति र अनुगमन सूचकहरू पनि तय गरिएका छन् ।
दिगो विकास लक्ष्यले आप्रवासनलाई प्रत्यक्ष रूपमा इंगित नगरे पनि, छुट्टै लक्ष्य तय गरेको नभए पनि आफ्ना केही लक्ष्यमा समेट्न खोजेको देखिन्छ । जस्तो— आठौं लक्ष्यमा भनिएको छ सम्मानजनक काम (श्रम) र आर्थिक वृद्धि, दसौं लक्ष्यमा छ असमानताको न्यूनीकरण अनि लैंगिक समानताको ठूलो भाषा बोल्ने पाँचौं लक्ष्यले सबै लक्ष्यको मूल प्रवाहीकरणको मर्म बोक्छÙ आप्रवासी महिला, पुरुष र फरक लैंगिक पहिचान रहेकाहरूको समानताको पैरवी गर्छ ।
आप्रवासनलाई केन्द्रमा राखेर दिगो विकास लक्ष्यहरूको विकास र समृद्धिको अन्तर्य विश्लेषण गर्दा केही पक्ष भने उजागर हुन्छन्, जसको सम्बन्ध माथि उल्लिखित पाँचौं, आठौं र दसौं लक्ष्यसँग बढी भेटिन्छ । दिगो विकास लक्ष्यले एकातिर समान ज्याला, श्रमको सम्मानजस्ता श्रमकेन्द्रित सामाजिक न्यायसँग सम्बन्धित पक्षधरता सैद्धान्तिक रूपमा व्यक्त गर्दछ भने अर्कातिर आप्रवासी श्रमिकको मुलुक र श्रम गन्तव्य मुलुकबीचको सामाजिक संरचना, सांस्कृतिक परिवेश, आर्थिक खाका र राजनीतिक पद्धति एवं तपसिलका आयामसृजित संरचनागत–नीतिगत त्रुटिका कारण व्यक्ति र समुदायले भोगिरहेको ठाडो र तेर्सो असमानतालाई आफ्नो चुनौतीका रूपमा पनि स्विकारेको छ ।
संसारको जुनै श्रम बजारमा पनि आफ्नो आवश्यकता, बाध्यता, चाहना, क्षमता, दक्षता, सीप र योग्यता अनुसार श्रम बेची जीविका चलाउन सबै खाले श्रमिकलाई आजको विश्वलाई तीव्र रूपमा बेरिरहेको बजारनियन्त्रित पुँजीवादी व्यवस्थामा ठाउँ छ । र, घरेलु श्रम बजारमा रोजगारीको गुन्जायस नभएको र राज्यसँग मानवस्रोत व्यवस्थापन योजनाको कुनै दृष्टिकोण पनि नभएको तर विप्रेषणमा आधारित अर्थतन्त्र भएका नेपाल लगायतका मुलुकहरूका लागि कम्तीमा अन्य मुलुकले रोजगारी दिएको हदसम्म यो ठीकै पनि होला । तर एकातिर व्यक्ति, समुदाय, लैंगिक र जातीय समुदायबीचको असमानता न्यूनीकरण गर्दै क्रमशः अन्त्य गर्ने भन्ने दिगो विकासजस्ता अति महत्त्वाकांक्षी योजना स्विकार्ने, अर्कातिर श्रम आप्रवासनका लागि गन्तव्य र उद्गम मुलुकहरूबीच आप्रवासी श्रमिक व्यवस्थापन गर्नकै लागि असमान सम्झौता र सहमति पनि गर्ने गर्दा व्यक्ति र समूहबीचको असमानताको जालो मुलुकमुलुकबीच पुगी विभेद र असमानता झन् संस्थागत भइरहेको त छैन ?
स्रोतमाथिको पहुँच, विश्व श्रम बजारको प्रवृत्ति र चरित्र निर्माण प्रक्रियाले गर्दा राष्ट्रहरूबीचको विभेद छँदै छ जसले विश्वसमुदायलाई विभाजित मात्र गरेको छैन, श्रम आप्रवासन गन्तव्य ठानिएका तुलनात्मक रूपमा धनी श्रम बजार र श्रमिक निर्यात गर्ने उद्गम मुलुकबीचको शक्ति असन्तुलनका कारण कसरी यी मुलुकहरूबीच असमान श्रम सम्झौताहरू गरिन्छन् भन्ने पनि निर्धारण गर्छÙ जस्तो— नेपालले जापान, कोरिया, इजरायल लगायतसँग गर्ने श्रम सम्झौता एवं मलेसिया र खाडी मुलुकहरूसँग गर्ने सम्झौता ।
आप्रवासन अनुसन्धाताहरूका अनुसार, यसरी गन्तव्य श्रम बजार र श्रमिक उद्गम मुलुकबीचको असमान शक्ति सन्तुलनको चपेटामा पर्ने भनेका आप्रवासी श्रमिकहरू नै हुन् जो घरेलु श्रम बजारमा सम्भावना नहुँदा सस्तो ज्याला र अनेक प्रकृतिका शोषण र अपमान सही अन्तर्राष्ट्रिय श्रम बजारमा पसिना बेच्न बाध्य छन् । उता घरेलु श्रम बजारमा किन, कसरी र कसबाट रोजगारीका सम्भावनाहरू खोसिन्छन् वा संकुचित पारिन्छन् भन्ने अर्को जटिल लहरो पनि छ, जसबारे छुट्टै बहस हुनु जरुरी छ ।
श्रम मन्त्रालयको वार्षिक प्रतिवेदनलाई सन्दर्भ सामग्रीका रूपमा लिने हो भने प्रस्ट हुन्छ, नेपाली समाजको ठाडो (व्यक्ति वा परिवारहरूबीच हुने आर्थिक असमानता, वर्गीय) र तेर्सो (लैंगिकसहित अन्य सामाजिक–सांस्कृतिक पहिचानका आधारमा हुने) विभेद कसरी श्रम आप्रवासनमा पनि झल्किन्छ । यो जटिलता बुझ्नका लागि प्रतिवेदनले औंल्याएको नेपालका कुन समुदाय, लैंगिक पहिचान र उमेरका श्रमिक कुन मुलुकमा बढी जान्छन्, के कामका लागि लगिन्छन्, अनि जाने प्रक्रियामा कति ऋणमा डुबेका हुन्छन् र त्यो कहाँ–कोसँग कति ब्याजमा ऋण लिन बाध्य
छन् भन्ने पक्षहरू केलाउनुपर्ने हुन्छ । यी विभिन्न आयाम केलाउँदा तुलनात्मक रूपमा बढी शोषणको चक्रमा पर्ने वर्गका श्रमिकहरूले कस्तो शिक्षाको अवसर पाएका थिए र राज्यद्वारा प्रदान गरिने भनिएका अन्य मौलिक हक र सामाजिक न्यायमा तिनको कत्तिको पहुँच थियो भन्ने सवाल पनि बिर्सनु हुन्न । किनकि कुनै पनि श्रमिक जन्मजात दक्ष जन्मँदैन, उसमाथि परिवार, समाज र राज्यले केकति लगानी गरेको छ भन्ने पक्षले त्यो निर्धारण गर्ने हो । यसको एउटा राम्रो उदाहरण चीन हो जसले दक्ष मानवस्रोत तयार पार्न विश्व श्रम बजारको चरित्र र प्रवृत्तिलाई निकै मिहिन तरिकाले अध्ययन गरेको पाइन्छ जसले गर्दा चिनियाँ श्रमिकहरूको आफ्नै श्रम बजार छ ।
श्रम सम्झौताहरूलाई राजनीतिक आयामभन्दा बढी श्रम बजारको चरित्रलाई मनोवैज्ञानिक प्रकृतिका सामाजिक–सांस्कृतिक आयामहरूले बढी प्रभाव पार्छन् । किनकि नीतिगत खाकाहरूलाई त्यस समाजको सामाजिक र सांस्कृतिक चेतना र चरित्रले तय गरेको हुन्छ । उदाहरणका लागि, नेपालको नागरिकता सम्बन्धी प्रावधान एवं नेपाली समाजको साँघुरो लैंगिक सोच, चेतना र संरचनागत रूपमा संस्थागत भएको ठाडो र तेर्सो विभेदको असर महिला आप्रवासी श्रमिकमा परिरहेको छ । अनि गन्तव्य मुलुकको समाजको श्रम बजारको व्यवहार र विभेद, श्रम, यौन र मनोवैज्ञानिक शोषण कुन तहको हुन्छ भन्ने पक्ष पनि यही घरेलु परिवेशका ठाडो र तेर्सो विभेदका पानाहरू हुन् भनेर हामीले बिर्सनु हुँदैन । यदि त्यसो होइन भने किन निम्न आय भएका र अति विपन्न, सीमान्तीकृत, अदक्ष श्रमिकमाथि कार्यक्षेत्र र त्यहाँको समाज, श्रम बजार, अध्यागमन लगायतका आप्रवासन प्रक्रियासँग जोडिएका निकायहरूले तुलनात्मक रूपमा बढी शोषण गर्छन् ?
ठाडो र तेर्सो विभेदको यथार्थलाई दिगो विकास लक्ष्यका परिकल्पनाकारहरूले सैद्धान्तिक रूपमा स्विकारे पनि तिनको अन्त्यचाहिँ फेरि संरचनागत त्रुटिको रूपान्तरणमुखी सम्बोधनभन्दा पनि सतही विकास र विभेदमा परेको समुदायको विकास प्रक्रियामा सहभागिताको संख्यात्मक जोडघटाउमै केन्द्रित छ । त्यसैले दिगो विकासका उल्लिखित पाँचौं, आठौं र दसौं लक्ष्यहरूमा मिसाइएको आप्रवासी श्रमिक र समग्रमा श्रमशक्तिको सामाजिक न्याय र अधिकारका कुरा पूरा हुनेमा ढुक्क हुने ठाउँ त्यति देखिँदैन ।
अन्त्यमा, आप्रवासनमा अनुसन्धान गर्नेहरूको सबैभन्दा चिन्ताको विषय भनेको एकातिर दिगो विकास लक्ष्यले आप्रवासी श्रमिकको आफ्नो
समाज र गन्तव्य श्रम बजारको तहगत विभेद (राष्ट्र–राष्ट्रबीच र व्यक्ति–व्यक्ति–समूहबीच) लाई उचित तरिकाले सम्बोधन गर्न नसक्नु हो भने अर्कातिर बढ्दो युद्ध, जलवायु परिवर्तन, कृषि उत्पादनमा ह्रासजस्ता प्रतिकूल परिस्थितिले गर्दा श्रम आप्रवासनको चाप बढ्दो छ । यसले गर्दा विश्व श्रम बजारमा रोजगारीको कडा प्रतिस्पर्धा मात्र होइन, समान ज्याला र श्रमको सम्मानजस्ता दिगो विकासका लक्ष्यमा झनै चुनौती थपिई श्रमिकमाथि शोषण पनि बढेको भेटिन्छ । र यो शोषण बढ्ने क्रम भविष्यमा कायम रहने संकेतहरू अनुसन्धानबाट पुष्टि भइरहेका छन् ।

Page 7
दृष्टिकोण

अर्थतन्त्रमा संरचनागत सुधारको अपरिहार्यता

- अञ्जन श्रेष्ठ

 

कोभिड महामारीयताको समय नेपालका लागि मात्र नभएर विश्व अर्थतन्त्रलाई नै कठिन बन्दै गएको छ । पछिल्लो एक वर्ष ज्यादै असहज देखियो । युरोप र अमेरिकामा बढ्दै गएको मुद्रास्फीति, रोजगारीमा आएको कटौती, निर्यातमा आएको कमीले गर्दा चीनको व्यापार घटेर देखिएको संकुचन आदिले गर्दा पछिल्ला ३ वर्ष विश्वभरकै निजी क्षेत्रका लागि अप्ठ्यारो गरी बिते । यद्यपि पर्याप्त लगानी, भौतिक पूर्वाधार र उचित नीतिगत निर्णयका साथै सरकारहरूले निजी क्षेत्रलाई गरेको विश्वासका कारण विश्वका धेरै अर्थतन्त्र बिस्तारै तंग्रिँदै छन् ।
झन्डै ५० खर्बको नेपाली अर्थतन्त्र पछिल्लो समय अत्यन्तै उतारचढावमा छ । आर्थिक वृद्धिदर खुम्चिएको छ, अर्थतन्त्रमा उत्पादनभन्दा सेवा क्षेत्रको हिस्सा बढेको छ, देशमा रोजगारीका अवसरहरू क्रमशः न्यून हुँदै गएका छन्, अधिकांश नेपालीको दैनिकी कष्टकर हुँदै गएको छ, पछिल्लो एक वर्षमा बढेको मुद्रास्फीति र आम्दानीमा आएको संकुचनका कारण उपभोग्य वस्तुहरूको बजार माग घट्दै गएको छ । यसरी आर्थिक क्रियाकलापमा आएको कमीले गर्दा निजी क्षेत्र हतोत्साहित छ, साना तथा मझौला व्यापारहरूमा लगानी घटेको छ । अस्थिर वित्तीय वातावरण, गुणस्तरीय पूर्वाधारहरूको कमी लगायतले गर्दा मझौला तथा ठूला व्यापार र तथा उद्योगहरूको उत्पादन लागत बढेको छ । सरकारी तथ्यांकहरू देखाउने आँकडा, बजार र व्यापारिक वातावरणसँग मेल खाएका छैनन् । सरकारी निकायहरूले प्रकाशित गरेकै तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपाली अर्थतन्त्र यति बेला मन्द गतिमा चलेको छ ।
पछिल्लो समय सरकार आफैंका लागि पनि कठिन देखिएको छ, आर्थिक गतिविधिमा आएको कमी र सरकारले लिएको गलत नीतिका कारण राजस्व संकलनमा ५५ वर्षयता पहिलो पटक गिरावट देखियो, अर्कातर्फ सरकारी खर्चमा हरेक वर्ष वृद्धि हुँदै गएको छ । मैले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष रहेर काम गर्न थालेका पछिल्ला ५ महिनायता नेपालको अर्थतन्त्र र निजी क्षेत्रमा रहेका संरचनागत समस्याहरू अझ नजिकबाट हेर्ने मौका पाइरहेको छु । निजी क्षेत्रको छाता संगठनका रूपमा ५ महिनामा हामीले नेपालभरका उद्योगी–व्यवसायीबाट धेरै पटक नेपालको व्यापारिक वातावरणमा उब्जेका समस्याहरू सुन्यौं । नेपालका उद्योगी–व्यवसायीहरूका लागि पछिल्ला दुई दशकमा अहिलेको यो संकट सबैभन्दा अप्ठ्यारो समय हो । एकातर्फ उत्पादन लागत बढेर व्यापारमा कमी आएको छ, अर्कातर्फ समयमा ऋणको साउँब्याज भुक्तानी गर्न नसक्दा बैंकिङ कसुरको आतंक खेप्नुपरिरहेको छ । अर्थतन्त्रको अप्ठ्यारो फुकाउनका लागि हामीले पटकपटक राज्यका नीतिनिर्माता, वैदेशिक सहायता साझेदारसँग पनि भेटेकै छौंÙ हाम्रो आग्रह निजी क्षेत्रमैत्री वातावरणका लागि सहजीकरण गरिदिनुपर्‍यो भन्ने रहँदै आएको छ । सरकार, निजी क्षेत्र, वैदेशिक सहायताका साझेदारले आयोजना गर्ने गरेका नेपालको अर्थतन्त्र र विकास सम्बन्धी छलफलहरूमा भाग लिँदा भने नेपालमा आर्थिक विकासका सम्भावना र स्रोतहरू अथाह छन् भन्ने भान पनि हुन्छ । उचित नीतिगत निर्णयका साथै संरचनागत सुधार गर्दै जाने हो भने, नेपालले आर्थिक विकासमा बंगलादेश अथवा भियतनामलाई भेट्न १० वर्ष पनि कुर्नुपर्दैन तर यसका लागि हाम्रा नीतिनिर्माता, कर्मचारीतन्त्र र निजी क्षेत्र संरचनागत सुधारका लागि तयार रहनुपर्छ ।
नेपालले गर्नुपर्ने संरचनागत सुधारबारे लामो समयदेखि बहस भइरहे पनि, सुधार कहाँ र कसरी गर्ने भन्ने विषयमा अन्योल देखिएको छ । मैले देखेका संरचनागत सुधार गर्नुपर्ने मुख्य क्षेत्रहरूबारे यहाँ चर्चा गर्दै छु ।

उत्पादन र बजारमुखी नीतिगत सुधार
नेपालमा आन्तरिक र बाह्य लगानीका लागि अहिले पनि थुप्रै नीतिगत झन्झट रहेको सर्वविदितै छ । उत्पादन र बजारमुखी नीति सहजीकरणका लागि सरकारका तर्फबाट प्रयासहरू पनि भैरहेका छन् । यद्यपि देशमा उद्योगधन्दा र कलकारखानाहरूको विकास र विस्तार हुन सकेको छैन । बजारमा आयातित वस्तु तथा सेवाहरूकै बाहुल्य छ, स्वदेशी उद्योग प्रवर्द्धनका नीतिहरू कागजमै सीमित छन् र भएकै उद्योगहरूमा समेत पर्याप्त जनशक्ति र पूर्वाधारहरूको कमी छ । सरकारले नीतिगत सुधार गर्दै गर्दा, देशमा उत्पादन वृद्धि गर्न सक्ने गरी, स्वदेशी वस्तुहरूको स्थानीय बजारमा प्रवर्द्धन गर्दै प्रतिस्पर्धी उद्योग बनाउन बजारमुखी नीतिगत सुधार गर्नुपर्छ । लगानीको एकद्वार नीति, आन्तरिक बजार विस्तारमा जोड दिने गरी र स्थानीय लगानीकर्ताको आत्मविश्वास बढ्ने गरी नीतिगत सहजीकरण गर्नु अपरिहार्य छ ।
लगानीमैत्री वातावरण निर्माण र नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धिका लागि उद्योगी–व्यवसायीहरूलाई प्रोत्साहन गर्नका लागि सरकारले उद्यमीलाई कस्नेभन्दा पनि उनीहरूको व्यापार विस्तार गर्ने साझेदारका रूपमा प्रस्तुत हुनु जरुरी छ । युवा उद्यमी, स्टार्टअप तथा नवप्रवर्तन उद्योगी–व्यवसायीहरूलाई सहजीकरण गर्नका बजारमुखी नीतिगत सुधारहरू (जस्तै— व्यवसाय दर्ता, सञ्चालन र खारेजीमा सुधार, कर प्रणालीमा सहजीकरण, नीतिगत एकरूपता, दिगोपन र समयसापेक्ष परिवर्तन) मा सरकारले उचित ध्यान दिनुपर्छ ।
नेपालका नियमनकारी संस्थाले कुनै नियम बनाउँदा सरोकारवाला उद्योगी–व्यवसायीसँग पर्याप्त परामर्श गर्दैनन् । पर्याप्त परामर्शबिना कानुन बनाउँदा र पुराना कानुनहरू अद्यावधिक नगर्दा हामीले धेरै समस्या भोग्नुपरेको छ । त्यसैले पर्याप्त परामर्शसहितका तथ्यमा आधारित नीतिनियम बनाउनु आजको आवश्यकता हो । यसले सरकार र निजी क्षेत्र सबैलाई फाइदा नै गर्छ ।

प्रविधिको प्रयोग गर्दै औपचारिक अर्थतन्त्र सुदृढीकरण
विभिन्न आध्ययनले नेपालको अर्थतन्त्रको आधाभन्दा धेरै हिस्सा अनौपचारिक रहेको देखाएका छन् । कमजोर कर प्रशासन, नीतिगत छिद्र, खुला सिमाना, विद्युतीय पूर्वाधारको कमी, अनौपचारिक रूपमा भित्रिने रेमिट्यान्स, हुन्डी सेवा, कालोबजारी लगायतले नेपालको अर्थतन्त्र अनौपचारिक रूपमा धेरै चल्छ भन्ने सबैलाई जानकारी भएकै विषय हो । यसबाट एकातर्फ सरकारलाई राजस्व र नियमनमा कमीजस्ता समस्या देखिएका छन् भने, औपचारिक रूपमा काम गरिरहेका हामी निजी क्षेत्रका व्यवसायीहरूलाई समेत समस्या पर्न थालेको छ । अनौपचारिक रूपमा चल्ने मुद्रा सटही, कामदारको सामाजिक सुरक्षा, दाखिला गर्नुपर्ने कर, वैदेशिक व्यापार र लगानी लगायतका विषयहरूमा निजी क्षेत्रलाई अनौपचारिक अर्थतन्त्रले अप्ठ्यारो पारेको छ । पछिल्लो दशकमा भारत, बंगलादेश, मलेसिया लगायतले एकद्वार प्रणालीबाट सञ्चालन हुने, राष्ट्रिय परिचयपत्र र आधार कार्ड लगायतका प्रविधिमार्फत स्थायी लेखा नम्बरको प्रयोग बढाउने गर्दा त्यहाँ औपचारिक अर्थतन्त्र बढेको छ । करको दायरामा आउने जनसंख्या बढ्नेबित्तिकै अर्थतन्त्रमा लगानीकर्ताको विश्वास बढ्छ । यसले अर्थतन्त्रको आकारका साथै उत्पादन, वितरण र उपभोग पनि बढाउँछ । पछिल्लो समय भारतले गरेका सुधारहरूमध्ये एउटा यो पनि हो । नेपालमा पनि निजी क्षेत्रको प्रयासमार्फत विद्युतीय भुक्तानीका पूर्वाधारहरू बलिया बनिसकेका छन् । अब सरकारले नागरिक परिचयपत्र, विद्युतीय लेखा नम्बर लगायतलाई एकद्वारमा समेट्न सक्यो भने भ्रष्टाचार र चुहावट रोकिन्छ नै, कर प्रणालीसमेत बलियो हुन्छ, सार्वजनिक सेवा प्रवाह गुणस्तरीय हुन्छ, यी सबै सकारात्मक सुधारले अन्तिममा अर्थतन्त्रलाई नै बलियो बनाउँछ । यसले नेपालको सामाजिक सुरक्षा भत्ता वितरणमा समेत सुधार गरी चुहावट नियन्त्रण गर्छ । जन्म, मृत्यु लगायतका पञ्जीकरण सेवामा समेत सुधार हुँदै सरकारलाई गुणस्तरीय तथ्यांक उपलब्ध हुन्छ । तीनै तहका सरकारले नगरिकलाई दिने सेवासुविधामा उल्लेख्य सुधारसमेत आउँछ । यसले अर्थतन्त्रमा उत्पादकत्व वृद्धि गर्दै सरकारको चालु खर्चसमेत बचत गर्छ ।

निजी क्षेत्रका लागि वैदेशिक ऋण र लगानीमा सहजीकरण
नेपाली निजी क्षेत्रका लागि अहिले लगानीको एउटा मात्र स्रोत नेपालका निजी बैंकहरू हुन् । नेपालको निजी क्षेत्रको प्रयासले सञ्चालित निजी बैंकहरू तीन दशकयता अर्थतन्त्रको बलियो साझेदारका रूपमा प्रस्तुत भएका छन् । यद्यपि पछिल्ला पाँच वर्षमा हाम्रो बैंकिङ प्रणाली प्रतिस्पर्धी र नवीनतम सोचका साथ प्रस्तुत हुन सकेको छैन, जसको मार उद्योगी–व्यवसायी र अर्थतन्त्रलाई परेको छ । समयसमयमा बिनासूचना बढ्ने कर्जाको ब्याजदर र नीतिगत अस्थिरताले नेपालका अधिकांश साना तथा मझौला उद्यमीहरू प्रताडित छन् । स्थानीय बजारमा कर्जाको ब्याजदर अधिक हुँदै गर्दा व्यवसाय विस्तार गर्न कठिन छ । यसका लागि सरकारले उदार नीति अपनाउँदै, नेपालका व्यवसायीलाई वैदेशिक ऋण लिन सक्ने वातावरण बनाउनु जरुरी देखिन्छ । यसले अन्ततोगत्वा नेपाली बैंकहरूलाई प्रतिस्पर्धी बनाउन मद्दत गर्दछ, बैंकिङ प्रणालीमा आवश्यक सुधारसमेत हुँदै जान्छ । अर्कातर्फ, यसले नेपाली अर्थतन्त्रको बलियो पक्ष पनि उजागर गर्छ, नेपाललाई विश्व अर्थतन्त्र र वित्तीय बजारमा जोड्न यो महत्त्वपूर्ण हुन जाने देखिन्छ । सरकारले यो नीतिगत सुधारका लागि आवश्यक पर्ने सहजीकरण (जस्तै— कन्ट्री रेटिङ, वैदेशिक विनिमय र सम्पत्ति शुद्धीकरण सम्बन्धी नीति) मा आवश्यक काम गर्नुपर्ने देखिन्छ । वैदेशिक लगानीका लागि नेपालमा धेरै नीतिगत निर्णयका साथै कार्यालयसमेत स्थापना भएका छन्, तर सोचेअनुरूप नआउनुमा हामीले लिने संकुचित नीतिगत निर्णय र अधिक नियमन र नियन्त्रण प्रमुख रूपमा जिम्मेवार छन् । उद्योग–व्यवसाय फस्टाउन लगानीका लागि बैंकिङ वातावरण पनि उपयुक्त हुनुपर्छ । त्यसैले सरकारले निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई विश्वास गरेर वैदेशिक ऋण र लगानीमा सहजीकरण गर्न सक्यो भने अर्थतन्त्र विस्तार र विकास हुन्छ ।

पूर्वाधार विकास
निजी क्षेत्र र अर्थतन्त्रको विकासमा अर्को बाधक तत्त्व हो— अपर्याप्त भौतिक पूर्वाधार । अहिले सबै प्रमुख राजमार्ग एकैसाथ भत्काइएका छन्, जसले गर्दा एक वर्षयता सडक यात्रा कठिन बनिरहेको छ । ढुवानी महँगो भएको छ । नेपाली राजमार्गमा औसत गति ३० किमि प्रतिघण्टाभन्दा कम छ, जसले गर्दा व्यवसायको लगानी बढेको छ । सडक मात्र होइन, नेपालका उद्योगहरूमा समेत गुणस्तरीय ऊर्जाको कमी छ, औद्योगिक करिडोर र औद्योगिक क्षेत्रहरूमा बिजुली नियमित छैन, जसमा सुधार हुनुपर्छ । यसका साथै उद्योगका लागि चाहिने अन्य ठूला भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यान जानुपर्छ । विकासका लागि आवश्यक ठूला पूर्वाधारहरू (जस्तै— गुणस्तरीय राजमार्ग, सुरुङ मार्गहरू, जलविद्युत् परियोजना, प्रसारण लाइन, सिँचाइ आयोजना) मा सरकार गम्भीर हुनुपर्छ, यस्ता आयोजनाहरू सरकारको प्राथमिकतामा पर्नु जरुरी छ । नेपालमा पूर्वाधार निर्माणमा छुट्याइएको वार्षिक बजेटसमेत खर्च हुन नसकेको पृष्ठभूमिमा सरकारले यो पक्ष सुधार गर्न नसके समग्र देश र अर्थतन्त्र नै अझै केही दशकपछाडि धकेलिने निश्चित छ । साथै गुणस्तरीय शैक्षिक संस्थाहरू र प्राविधिक शिक्षाको विस्तार गर्दै आवश्यक जनशक्ति उत्पादनमा पनि ध्यान पुर्‍याउनुपर्छ ।
अन्त्यमा, नेपाली अर्थतन्त्रले अत्यन्त सम्भावना बोकेको छ । भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत, जनसंख्या लगायत हाम्रो अर्थतन्त्रका त्यस्ता सम्भावाना हुन्, तर उचित नीतिगत वातावारण, राजनीतिक तदारुकताको कमी आदिले गर्दा हामी अझै पनि अति कम विकसित मुलुकमै छौं । पर्याप्त नीतिगत र संरचनागत सुधार गर्न सकिएन भने हाम्रो अवस्था अझै खराब बन्दै जाने निश्चित छ । देश र अर्थतन्त्रको विस्तार र विकासका लागि उद्योग र बजार अपरिहार्य हुन् भन्ने वास्तविकता हाम्रो सरकार र समाजले मनन गर्नुपर्छ र उद्यमीप्रतिको दृष्टिकोण पनि बदल्नुपर्छ । नेपालले आफूसँगैका र आफूजस्तै अवस्थाबाट गुज्रेका र अहिले उन्नत भैसकेका अर्थतन्त्रहरू (भियतनाम, रुवान्डा, इन्डोनेसिया) बाट संचारनागत सुधार सिक्नु जरुरी छ । यसका लागि सरकार र निजी क्षेत्रको साझा पहल आवश्यक छ । सरकारलाई सघाउन हामी सधैं तयार छौं ।
श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् ।

दृष्टिकोण

सिंहदरबारको व्यवस्थापन

- रामचन्द्र तिवारी


मुलुकको शासकीय नियन्त्रण र समन्वय गर्ने केन्द्रीय सचिवालयका रूपमा रहेको सिंहदरबारभित्रको व्यवस्थापनले हाम्रो शासकीय सक्षमता र भावी दिशाको झल्को दिनुपर्छ । समयको पदचाप र नागरिकका अपेक्षा पूरा गर्ने गरी नीतिहरूको तर्जुमा र
कार्यान्वयन गर्ने, सबै तहका सरकार र निकायहरूबीच समन्वय र सञ्चार गर्ने, स्रोतको कुशल बाँडफाँट र परिचालन गराउने, अन्तर्राष्ट्रिय सम्बन्धको परिचालन गर्ने, कानुनी र नियामकीय ढाँचाको विकास गर्ने, रणनीतिक योजना र कार्यक्रममार्फत शासकीय र प्रशासनिक दक्षताको विकास गर्ने, शासकीय उत्तरदायित्व र पारदर्शिताको सुनिश्चितता गर्ने एवं संकट र आपत्कालीन व्यवस्थापकीय प्रबन्धमार्फत नागरिकलाई आश्वस्त पार्दै समृद्धिको नेतृत्व गर्ने काम सिंहदरबारको हो । शासकीय संरचनाको सवैभन्दा माथिल्लो सोपानमा रहेको निकाय भएको हुँदा यसको व्यवस्थापकीय पक्ष पनि आधुनिक र छरितो होस् भन्ने स्वाभाविक अपेक्षा हुन्छ । के सिंहदरबारभित्र माथि भनिएजस्तो काम गर्ने वातावरण, समय र जागँर छ त ?
सिंहदरबार उपयुक्त सार्वजनिक नीतिहरू विकास गर्ने र सोको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्ने थलो हो । तर पछिल्ला दिनमा सिंहदरबारको भीड हेर्दा सेवा प्रवाह गर्ने कार्यालयजस्तो देखिन थालेको छ । सिंहदरबारमा नागरिकको सहज पहुँचको बहससमेत यदाकदा उच्च तहबाटै व्यक्त भएको सुनिन्छ । सिंहदरबारको काम नागरिकलाई सिंहदरबार आउनै नपर्ने गरी सेवा प्रवाहको सुनिश्चितता गर्ने हो न कि सिंहदरबारमा दैनिक काम नै अवरोध हुने गरी मानिसको प्रवेश बढाउने । राज्यका महत्त्वपूर्ण पदाधिकारी र निकायहरू सिंहदरबारभित्रै भएकाले हुँदा यसको सुरक्षा व्यवस्थापन चुस्त हुनु अनिवार्य छ । सिंहदरबारको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर भित्र कार्यरत पदाधिकारी र कर्मचारीका अलावा कुनै आवश्यक कामले निश्चित समयका लागि सिंहदरबार जानैपर्ने व्यक्तिहरूलाई अस्थायी पास जारी गर्ने गरिएको छ, जसको मापदण्ड र आधार वस्तुनिष्ठभन्दा चिनजानमा आधारित बन्दै गएको छ । पटके रूपमा कामविशेषले आउनेहरूलाई सम्बन्धित निकायको अनुरोधमा प्रवेश दिने औपचारिक प्रबन्ध भए पनि वास्तविक सेवाग्राहीभन्दा स्वार्थ समूहका मानिस र फुर्सदको उपयोग गर्न आउनेहरूले यसको अत्यधिक प्रयोग गरेको देखिन्छ ।
मन्त्रालयहरूमा अधिकृतदेखि सचिवसम्मले दिनमा एकदुई पत्रकार, फुर्सदिला राजनीतिक कार्यकर्ता र कामविहीन कर्मचारीसँग एकदुई घण्टा चियागफ र असन्तुष्टि साटफेर गर्नु सामान्यजस्तै भएको छ । कोही यसैमा रमाएका देखिन्छन् भने कोही अनिच्छापूर्वक सामेल भएका छन् । सबैजसो मन्त्रीकहाँ कार्यकर्ता र अवसरको खोजीमा हिँडिरहने उनै सदाबहार मानिसको भीड लागिरहेकै हुन्छ । पारदर्शिताका नाममा यदाकदा मन्त्रिपरिषद्मा दर्ता भएका प्रस्ताव र टिप्पणीका पानाहरू अनलाइनमा छरपस्ट हुने गरेका छन् । नियम र समयमा काम गर्ने कर्मचारीसमेत लोकरिझाइँमा लाग्न उद्यत हुने समग्र प्रोत्साहन प्रणालीको विकास हुँदै गइरहेको छ । यस्तो शासकीय शैलीले वास्तविक पारदर्शिताको मर्म र शासकीय उत्तरदायित्वलाई कमजोर बनाउँदै लगेको छ । सबै अधिकारी व्यस्त छन् तर नतिजा अपेक्षित छैन ।
सिंहदरबार प्रवेशका लागि अस्थायी पास कम्तीमा सहसचिव तहको अधिकारीबाट कारणसहितको निर्णय गरेर मात्र जारी गर्ने र त्यसको विवरण मन्त्रालयको वेबसाइटमा राख्ने व्यवस्था तत्काल लागू गर्ने गर्नुपर्छ । सिंहदरबारको दक्षिण गेटमा कम्तीमा उपसचिवस्तरका कर्मचारीसहितको टिम खटाउनुपर्छ जसले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर गेटबाटै सूचना प्रवाह गरून् । सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई भेट्नैपर्ने अवस्थामा
समन्वय गरेर समय उपलब्ध गराऊन् । मन्त्रालयका उपसचिव तहभन्दा माथिका अधिकारीहरूले कार्यकक्षमा भेटघाट बन्द गर्नुपर्छ । भेटघाट मिटिङ रुममा मात्र गर्दा अनावश्यक लामो गन्थन हुने सम्भावना रहन्न । ‘हेलो सरकार’ लाई प्रभावकारी बनाउँदै गुनासा र समस्याको सहजीकरण त्यहीँबाट गर्ने अभ्यासलाई सुदृढीकरण गर्दै लैजानुपर्छ । सबै मन्त्रीले नियमित कार्यकर्ता भेटघाट सिंहदरबारमा सकभर नगर्ने र गर्नैपर्दा दिन तोकेर मात्र गर्न सके मन्त्रालयको काममा गुणात्मक परिवर्तन देखिन थाल्नेछ । कार्यकर्ता भेटघाटलाई पार्टी कार्यालय वा अन्य तोकिएका ठाउँबाट मात्र गर्ने गरी आचार संहिता बनाउनुपर्छ । मतदाता र नागरिकका गुनासा, समस्या र सुझावका लागि हरेक मन्त्रालयले तीनतीन महिनामा सार्वजनिक सुनुवाइजस्ता कार्यक्रम गर्नुपर्छ । राजनीतिक दलहरूका संसदीय दलका कार्यालयहरूलाई क्रमशः व्यवस्थापन गर्दै दलका कार्यालय र मन्त्रालयहरूको प्रवेश र बहिर्गमनलाई पृथक् गर्नुपर्छ ।
लोकतन्त्रमा सरकारको कामकारबाही र निर्णयमा नागरिकको पहुँच र निगरानी अनिवार्य मानिन्छ । यसका पनि निश्चित विधि र प्रक्रिया हुन्छन् । हरेक सार्वजनिक निकायले तीनतीन महिनामा आफ्ना निर्णय र कामकारबाहीको सूचना प्रकाशन गर्न तथा नागरिकका सरोकारका सूचना उपलब्ध गराउन सूचना अधिकारीको व्यवस्थासहितको सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा छ । प्रत्येक निकायमा प्रवक्ता तोकिएका छन् । तर यी संयत्रलाई प्रभावकारी बनाउन नसक्दा हरेक कर्मचारी प्रवक्ता बन्न खोज्ने र रणनीतिक महत्त्वका र संवेदनशील विषयसमेत परिपक्व नहुँदै बाहिर आउने घटना सामान्य हुन थालेका छन् । यसले यदाकदा अनियमितताका सम्भावनालाई रोकेको मान्न सकिए पनि अन्ततः यसको गन्तव्य शासकीय अराजकता नै हो । तसर्थ कार्यालय समयमा तोकिएका अधिकारीबाहेक अन्यले अनावश्यक रूपमा मिडियासँग गफिने शैलीमा बन्देज लगाउनुपर्छ । तीनै तहका सरकारका नीति, कानुन र कार्यक्रमबीच तालमेल मिलाउन अन्तरप्रदेश परिषद्जस्ता संयन्त्रहरूलाई क्रियाशील बनाउनुपर्छ । यस्ता निकायलाई तदर्थ रूपमा होइन, बहुविधाका विज्ञसहितको चलायमान सचिवालयमार्फत व्यवस्थित गर्नुपर्दछ ।
मुलुक संघीयतामा गएसँगै तीन तहका सरकार नागिरकको सेवामा क्रियाशील छन् । वडा तहसम्म राज्यका निकायहरूको उपस्थिति छ । सिंहदरबारको काम सबै तहका सरकार र निकायबाट प्रवाह हुने सेवालाई नागरिकको सहज पहुँचमा पुर्‍याउनु हो । प्रत्येक नागरिकका व्यक्तिगत समस्याको समाधान दिन आफैं तम्सिनेभन्दा पनि तोकिएका निकाय र अधिकारीलाई जिम्मेवार बनाउँदै लैजाने काममा सिहंदरबारले ऊर्जा खर्चिनुपर्दछ । मन्त्रालयहरूलाई नीतिगत समस्याको समाधान र कार्यान्वयनको सुनिश्चितता गर्ने काममा केन्द्रित गर्नुपर्दछ ।

दृष्टिकोण

मानसिक स्वास्थ्य सार्वभौम मानव अधिकार

- अजय रिसाल

 

मानसिक सन्तुलन ठीक नभएमा या खलबलिएमा या गुमाएमा या बिग्रिएमा...,’ ‘बहुलाएमा या पागल भएमा...,’ ‘दिमाग ठेगानमा नभएमा...’ लगायतका पदावली अझै पनि हाम्रा ऐनकानुनमा भेटिन्छन् । कुनै व्यक्तिलाई केही नियुक्ति या पदोन्नतिका लागि या परीक्षा–प्रतिस्पर्धा–चुनावमा सामेल हुनुपरे उपर्युक्त ‘अयोग्यता’ नभएको सिफारिस आवश्यक पर्दछ । त्यस्तै, कसैलाई पदविमुख बनाइदिनका लागि पनि माथिकै ‘अयोग्यता’ काफी हुन्छ । अझ कसैको सार्वजनिक मानमर्दन गर्नका लागि समेत यस्तै बिल्ला लगाइदिने गरिन्छ, सञ्चारमाध्यमहरूमा ।
दीर्घ रक्तचाप या मधुमेहका कारण आँखाको दृष्टि गुमाइसकेको मानिस, मोटोपनका कारण हिँडडुल नै गर्न नसक्ने व्यक्ति, अर्बुद रोगको उपचारका क्रममा सोच्ने शक्ति नै हराइसकेको मान्छेले जुनसुकै क्षेत्रमा मायाममता, प्रोत्साहन, सुविधा पाउने गर्छन् । तर जीवनमा आइपरेका सामान्य तनावका कारण छोटो समयका लागि मात्र ‘उदासीनता’ देखा परेमा या मनोचिकित्सककहाँ नियमित परामर्शका लागि जाने गरेका आधारमा मात्रै पनि उपर्युक्त लोकलज्जाप्रदायक शब्दहरूको प्रयोग गरिएको पाइन्छ । शारीरिक समस्याहरूका लागि उदार अनि सहनशील बन्ने हाम्रो समाज, नीतिनियम अनि ऐनकानुन मानसिक समस्याहरूका लागि भने त्यत्तिकै अनुदार एवं असहिष्णु रहने गरेको माथिकै उदाहरणहरूले नै दर्साउँछन् ।
संयुक्त राष्ट्र संघ बडापत्र अनि मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मात्र नभई हाम्रो संविधानले समेत स्वास्थ्यसेवालाई मौलिक अधिकारका रूपमा सूचीकृत गरेको छ । मानसिक स्वास्थ्य नभई पूर्ण सुस्वास्थ्यको परिकल्पनै गर्न सकिँदैन । हाल सालै मानसिक स्वास्थ्यलाई दिगो विकासका लक्ष्यहरूमा समेत समावेश गरिएको छ ।
डिप्रेसन, एन्जाइटीजस्ता मानसिक रोगहरू विश्वव्यापी असमर्थताका प्रमुख कारक मानिएका छन् । आत्महत्याको तथ्यांक डरलाग्दो गरी नै उकालो लागिरहेको छ, विशेष गरी १५–२९ वर्ष उमेर समूहमा । दीर्घ प्रकारका मानसिक रोग लागेका व्यक्तिहरूले रोकथाम गर्न सकिने किसिमका शारीरिक समस्याहरूकै कारण झन्डैझन्डै दुई दशकअगाडि नै अकाल मृत्युवरण गर्ने गरेको अध्ययनहरूले देखाएका छन् ।
तथ्यांक यस्तो डरलाग्दो देखिए पनि मानसिक रोगहरूको उपचार त्यत्ति खर्चिलो भने छैन । तर पनि यो विश्वभर नै, विकसित देशहरूमा समेत, सुलभ, सुपथ, सरल हुन सकेको छैन । उपचारको आवश्यकता अनि उपलब्धताबीच गहिरो खाडल छ । विश्वभर नै औसत २ प्रतिशतभन्दा कम स्वास्थ्य बजेट मानसिक स्वास्थ्यका लागि छुट्याइएको पाइन्छ । हाम्रोजस्तो न्यून आय भएको देशमा त झन् मानसिक स्वास्थ्यका निम्ति प्रतिव्यक्ति वार्षिक २ अमेरिकी डलरभन्दा कम खर्च गर्ने गरिएको तथ्यांक प्रक्षेपित छ । हाम्रो देशमा स्वास्थ्य बजेट नै कम छ, त्यसको पनि १ प्रतिशतभन्दा कम हिस्सा मानसिक स्वास्थ्यलाई पर्ने गर्दछ । अझै पनि हाम्रो मानसिक स्वास्थ्य मूलनीति प्रकाशमा आउन सकेको छैन । केन्द्रीय सरकारी संरचनाका रूपमा एउटा अस्पतालबाहेक केही छैन । मन्त्रालयगत स्वतन्त्र मानसिक स्वास्थ्य महाशाखासम्म छैन । मेडिकल कलेजहरूका मानसिक स्वास्थ्य युनिट अनि गैरसरकारी संस्थाहरूले नै धानिरहेका छन् हाम्रो मुलुकको मानसिक स्वास्थ्य ।
विडम्बना कस्तोसम्म छ भने, स्वास्थ्यलाई एकातिर मौलिक हक या मानव अधिकारका रूपमा मान्दछौं, अर्कातिर ‘स्वास्थ्य’ भित्रै शारीरिक अनि मानसिक स्वास्थ्यलाई काख र पाखाको व्यवहार गर्दछौं । मानसिक समस्याका अनेक पाटाबारे अध्ययन–अनुभव–अन्वेषणले ज्ञात गराइरहँदारहँदै पनि यसको उपचार प्रसारण, अनुसन्धान अनि विकासका लागि हाम्रो मुठी अझै खुल्न सकेको छैन ।
अर्कातिर, मानसिक रोगीहरू नै गम्भीर मानव अधिकार उल्लंघन, कलंक अनि भेदभावको सिकार भइराखेका छन् । मानव अधिकार र मानसिक स्वास्थ्यबीच जटिल तर परस्पर द्विदिशात्मक सम्बन्ध रहेको देखिन्छ । मानव अधिकार उल्लंघनका कारण मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने अनि मानव अधिकारको सम्मान गर्दा भने मानसिक स्वास्थ्यमा सुधार हुने तथ्य हालैका अध्ययनहरूले उजागर गरेका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका आधारमा हेर्दा, स्वास्थ्य अधिकारभित्र स्वास्थ्यसेवा अनि स्वास्थ्यका मापदण्डहरूका अतिरिक्त शुद्ध पिउने पानी, सरसफाइ, पर्याप्त पोषण, उचित बसोबास, स्वस्थ वातावरण, सुरक्षित रोजगारी, स्वास्थ्य सम्बन्धी शिक्षामा पहुँच लगायतका विविध अवयव अन्तर्घुलित भएर रहने गर्छन् । यी सब आयाममा मानसिक समस्या भएका व्यक्तिहरूको अवस्था झनै साँघुरिएको पाइन्छ । हाम्रोजस्तो देशमा त झन् अवहेलना अनि तिरस्कारका कारण परिवारभित्रै पनि तिनले उचित हेरविचार, पर्याप्त पोषण अनि शुद्ध पिउने पानी पाएका हुँदैनन् । शिक्षामा तिनको पहुँच पुग्न सक्दैन । रोजगारी या त तिनले पाएका नै हुँदैनन्, पाएकै रहेछन् भने पनि मानसिक समस्याकै कारण जागिरबाट जुनसुकै समयमा निकालिने डर रहिरहन्छ । घरमै थुनिएर या बाँधिएर रहन विवश तिनले उपलब्ध उपचारसमेत लिन पाउँदैनन् । मानसिक समस्याका खतराहरूबाट जोगिन सक्नुÙ सर्वसुलभ, सुगम, सर्वस्वीकार्य अनि गुणस्तरीय उपचारसेवा पाउनु अनि वैयक्तिक स्वतन्त्रता अक्षुण्ण राखेर समाजमा ससम्मान रहन पाउनु नै मानव अधिकार स्थापित रहेको अवस्था हो ।
हाम्रा अस्पतालहरूभित्रै मानसिक सेवा प्रदान गर्ने वार्डहरूको अवस्था मानव अधिकारप्रतिकूल छ । तथाकथित पुनःस्थापना केन्द्रहरूको स्थिति त झनै भयावह छ । घरमा राख्न नसकेपछि मात्र अभिभावकहरू मानसिक समस्या भएका आफ्ना परिवारजनलाई थुन्नका लागि या समाजको आँखा छल्नका लागि उपचारगृहमा भर्ना गर्छन् । शुद्ध पानी, चर्पी, नियमित खानपान, सफा ओढ्ने–ओछ्याउनेको व्यवस्थाÙ वैयक्तिक दैनिक आवश्यकताहरूको पूर्तिÙ मनोरञ्जन अनि खेलकुदको व्यवस्था लगायतका सामान्य सुविधामा समेत पछि पर्दछन् अस्पतालका मानसिक वार्डहरू । मानसिक रोगी (प्रायशः लागूपदार्थ दुर्व्यसनी) हरूलाई बाँध्ने, पिट्ने, घरायसी कामदारलाई जस्तो गालीगलौज गर्ने, व्यक्तिगत काम गराउनेजस्ता निकृष्ट व्यवहारसमेत पुनःस्थापना केन्द्रहरूमा गर्ने गरिएको छ । हाम्रो समाजको स्वास्थ्य चेतनास्तरका कारण कहिलेकाहीँ जबरजस्ती भर्ना गरेर उपचार गर्नुपर्ने बाध्यता नै पर्ने गर्छ, तिनले आफ्नो उपचार विधिबारे स्वनिर्णय गर्ने त परैको कुरा ! यी सबमा मानव अधिकार उल्लंघनका धाराहरू आकर्षित हुन्छन् नै ।
आफ्नोबारेमा स्वनिर्णय गर्ने, समुदायमा निर्धक्क बस्न पाउने, सुहाउँदो रोजगारीमा लागेर आफ्नो जीवनवृत्ति चलाउने, बिनाभेदभाव सामाजिक कार्यमा लाग्न पाउनेजस्ता चार मूलभूत अधिकार कुनै पनि स्वतन्त्र व्यक्तिका लागि सर्वांगीण महत्त्वका विषय हुन्, मानसिक रोगीहरूका लागि त झनै विशेष । त्यसैले पनि मानव अधिकारमा आधारित मानसिक स्वास्थ्य सेवाबारे अहिले विश्वव्यापी छलफल चलिरहेको छ ।
मानव अधिकार समाजको न्याय अनि सभ्यताको मानक हो । नैतिकता अनि कानुनी आधारमै पनि यसको सम्मान गर्नुपर्ने हुन्छ । मानव अधिकारमा आधारित स्वास्थ्य सेवा दिइँदा कम खर्चमै मानसिक रोगीहरूमा व्यापक सुधार आएको अध्ययनहरूले देखाएका छन् । मानव अधिकारप्रति उचित ध्यान दिन सके मात्र कुनै पनि व्यक्तिले ‘आफ्नो पूर्ण क्षमताको आकलन गर्ने, जीवनका सामान्य तनावजन्य परिस्थितिहरूको सामना गर्ने, उत्पादनशील अनि फलदायी कार्य गर्न सक्ने अनि आफ्नातर्फबाट समाजलाई समुचित योगदान दिन सक्ने’ हुन्छ । त्यसैले मानसिक स्वास्थ्यलाई मानव अधिकारको विहंगम आलोकभित्र राखेर हेर्न अनि मानसिक रोगीहरूको मानव अधिकारमा सदैव ध्यान पुर्‍याउन जरुरी छ ।

Page 9
अर्थ वाणिज्य

चिनी ल्याउन नसकेपछि उद्योगीसँग पैंचो माग्दै सरकार

- राजु चौधरी

(काठमाडौं)
केही महिनाअघिको कुरा हो । सरकारले चाडपर्वको माहोल सुरु भएपछि ५० हजार टन चिनी सरकार–सरकार (जीटूजी) मार्फत भारतबाट ल्याउने घोषणा गर्‍यो । त्यहीअनुसार उसले भारतलाई साउन ५ मा चिठी पनि पठायो । तर त्यसअघि नै भारतले चिनी निर्यातमा बन्देज लगाइसकेको थियो । उखुको अफसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाएको हो ।
भारतको निर्णयसँगै नेपाली बजारमा चिनीको कृत्रिम अभाव सुरु भइसकेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई चिठी पठाउँदै बजार हस्तक्षेपका लागि भनेर ६० हजार टन सहुलियतको चिनी ल्याउने पहल अघि बढाउन आग्रह गर्‍यो । तर अर्थले सुरुमा यसमा कानबतास लगाएन । भदौ अन्तिमतिर भने अन्ततः २० हजार टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न अर्थले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दियो । अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयातको जिम्मेवारी पाए ।
त्यसको केही दिनमै साल्टले चिनी आयातका लागि १५ दिने ग्लोबल टेन्डर निकाल्यो । अहिले त्यसका लागि कम्पनी छानिइसकेको छ । तर लागत बढ्ने देखिएपछि यति बेला साल्टको चिनी आयात अन्योलमा छ । अर्कोतिर खाद्य कम्पनीले भने ४५ दिने सूचना निकालेको छ, जब कि सूचनाको म्याद सकिँदा मंसिर लागिसक्छ । छनोट प्रक्रिया सकिसक्दा यस वर्षका चाडबाड प्रायः सकिन्छन् ।
अहिले साल्टले ल्याउने भनेको चिनी आउने अवस्था पनि छैन । बजारमा चिनी नभएकै कारण मूल्य छोइनसक्नु छ । धेरैजसो पसलमा चिनी पाइँदैन । पाइहाले किलोकै १५० रुपैयाँसम्म मूल्य तिर्न उपभोक्ता बाध्य छन् । चिनीको बजार नियन्त्रणबाहिर गएको छ । यही अवस्थालाई देखेर बल्ल सरकारले उद्योगी गुहारिरहेको छ । आफूले ल्याउन नसकेपछि उद्योगीसँग पैंचोमा चिनी मागिरहेको छ ।
‘चिनीको आपूर्ति अवस्थामा चुनौतीपूर्ण देखिएको छ, साल्ट र खाद्य कम्पनीबाट टेन्डर भएको छ,’ मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘चिनी आपूर्तिको व्यवस्था मिलाउन सरकार लागिपरेको छ ।’ ठाकुरका अनुसार मंसिरमा उखुको क्रसिङ सुरु हुने भएकाले तत्कालका लागि १० हजार टन आए डेढ महिनाका लागि पर्याप्त हुने उनको भनाइ छ ।
मन्त्रालय स्रोतका अनुसार टेन्डरबाट आयात सम्भावना नदेखेपछि सरकारले जीटूजीबाट पहल गरिरहेको छ । त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत जानकारी गराइसकेको स्रोतको भनाइ छ । तर, जीटूजीबाट आउने सम्भावना पनि न्यून छ । ‘सबै विकल्प प्रयोग गरिएको छ । केही उपाय नलागेपछि उद्योगीहरूसँग भएको चिनी सापट मागिरहेका छौं, सापट नदिए साल्टमार्फत किन्ने गरी छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।
मन्त्रालयका प्रवक्ता ठाकुरले पनि उद्योगीहरूसँग चिनी सापटी लिने विषयमा छलफल भइरहेको पुष्टि गरे । ‘सरकारी संस्थानले सहुलियतको चिनी आयात गरेको अवस्थामा फिर्ता गर्ने गरी उद्योगीहरूसँग अनुरोध भएको छ । विभागको नेतृत्व गरिरहँदा मैले पनि आग्रह गरेको थिएँ । अहिले पनि अनुरोध गरेका छौं,’ उनले भने । बोटलर्स नेपालसँग करिब १० हजार टन चिनी छ । उसले उद्योगीसँग खरिद गरेर मौज्दात राखिरहेको छ । अन्य उद्योगीसँग पनि केही परिमाणमा मौज्दात चिनी छ । तर उक्त मौज्दात अन्य खाद्य उद्योगले खरिद गरेर राखेका छन् । चिनीको चरम अभाव देखिएपछि सरकारले सबै पक्षलाई सँगै राखेर अनुरोध गर्ने तयारी गरेको हो । चिनी उद्योगीहरूसँग करिब १ लाख ८८ हजार क्विन्टल चिनी मौज्दात रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले जनाए । तर उक्त चिनी उद्योगले बुक गरिसकेका छन् ।

‘बुक गरिएको केही मात्राको चिनी बजारमा पठाउन माग गरेका छौं, उद्योगी केही सकारात्मक नै छन्,’ चिलुवालले भने, ‘मंगलबार मन्त्रीज्यूको कार्यकक्षमा छलफलका लागि बोलाएका छौं । उद्योगीहरू सकारात्मक भए साल्ट ट्रेडिङमार्फत खरिद गरेर बजारमा पठाउन सकिन्छ ।’
साल्टसँग जम्मा ४ सय टन चिनी मौज्दात रहेको साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले जनाए । उक्त चिनीले दसैंसम्मलाई मात्र पुग्छ । ५० प्रतिशत भन्सार महसुल छुट पाएको चिनी आयात नभए सरकारी गोदाम रित्तै हुन्छ । स्रोतका अनुसार तराई क्षेत्रमा चिनीको समस्या छैन । भारतसँग खुला सीमा भएकै कारण बजारमा सहजै पाइएको छ । तर काठमाडौं उपत्यका र पोखरामा अभाव देखिएको मन्त्रालयका अधिकारी बताउँछन् । ‘उद्योगीहरूले सरकारलाई बिक्री नगरे पनि
५/७ हजार टन पैंचो माग्छौं,’ स्रोतले भन्यो ।

अर्थ वाणिज्य

उठ्न बाँकी पुनर्कर्जा सवा १ अर्ब मात्रै

- कान्तिपुर संवाददाता

 

काठमाडौं (कास)– यसअघि सस्तो ब्याजदर र सहज रूपमा उपलब्ध गराउँदै आएको पुनर्कर्जामध्ये अब सवा १ अर्ब रुपैयाँ मात्र उठ्न बाँकी रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । राष्ट्र बैंकले ०७९ जेठयता राष्ट्र बैंकले नयाँ पुनर्कर्जा प्रवाह नगरेको र त्यसअघि प्रवाह भएको कर्जामध्ये केही असुली भएकाले गत साउनसम्म १ अर्ब २३ करोड रुपैयाँ असुली हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । विगतमा राष्ट्र बैंकले सवा २ खर्ब रुपैयाँसम्म रकम पुनर्कर्जामार्फत बजारमा पठाएको थियो ।
कोभिड–१९ को असर सकिँदै गर्दा अर्थतन्त्र सुधारको बाटोमा रहेको भन्दै राष्ट्र बैंकले पुनर्कर्जा घटाउने नीति लिएको थियो । तर, अहिले बाह्य क्षेत्र सबल रहे पनि आन्तरिक अर्थतन्त्र शिथिल रहिरहेका बेला राष्ट्र बैंकले पुनर्कर्जामार्फत भए पनि बजारमा पैसा पठाउनुपर्ने अर्थविद्हरूले बताउँदै आएका छन् । तर, राष्ट्र बैंकले ०७९ जेठदेखि नयाँ पुनर्कर्जा वितरण गरेको छैन ।
पछिल्लो पटक राष्ट्र बैंकले गत फागुनमा पुनर्कर्जा कार्यविधि ०७७ (पाँचौं संशोधन) मार्फत पुनर्कर्जा वितरणमा कडाइ गरेको हो । त्यसमा यसअघि सस्तो ब्याजदर र सहज रूपमा उपलब्ध हुँदै आएको पुनर्कर्जा सुविधा अब प्रतिकूल परिस्थितिमा मात्र वितरण हुनेलगायत विभिन्न कडाइको व्यवस्था गरेको थियो ।
भूकम्प, कोभिड संक्रमणलगायत असामान्य अवस्थामा ठूलो परिमाणमा प्रवाह गरिएको पुनर्कर्जा व्यवस्थालाई मौद्रिक नीतिको गैरपरम्परागत उपकरण मान्दै अर्थतन्त्रको समग्र अवस्था, प्राकृतिक प्रकोप, महामारीलगायत अन्य आन्तरिक तथा बाह्य कारणले अर्थतन्त्रमा उत्पन्न प्रतिकूल परिस्थितिमा मात्र वितरण गरिने कार्यविधिमा उल्लेख छ ।
अर्थतन्त्र मन्दीमा रहेकाले पुनरुत्थानका लागि पुनर्कर्जाको आकार र अवधि बढाउनुपर्ने माग निजी क्षेत्रले गरिरहेका बेला राष्ट्र बैंकले कार्यविधिमार्फत यसमा कडाइ गरेको हो । ‘अर्थतन्त्रको अवस्था, प्राकृतिक प्रकोप, महामारी, आन्तरिक तथा बाह्यलगायत कारणले अर्थतन्त्रमा उत्पन्न प्रतिकूल परिस्थिति, बैंकिङ प्रणालीमा रहेको तरलताको स्थिति एवम् निजी क्षेत्रमा प्रवाह भएको कर्जाको प्रवृत्तिजस्ता अर्थतन्त्रका समष्टिगत परिसूचकको विश्लेषणपछि आर्थिक गतिविधि विस्तारमा सहजीकरण गर्नुपर्ने अवस्थामा मात्र पुनर्कर्जा उपलब्ध हुनेछ,’ पुनर्कर्जा कार्यविधि ०७७ पाँचौं संशोधनमा भनिएको छ, ‘समग्र अर्थतन्त्र वा कुनै खास क्षेत्रका उद्योग व्यवसायको पुनरुत्थान तथा प्रवर्द्धन गर्न विभिन्न समय अन्तरालमा वा अलग–अलग किस्तामा उपलब्ध गराउने गरी राष्ट्र बैंकले पुनर्कर्जा सुविधा उपलब्ध गराउन सक्नेछ ।’

पुनर्कर्जा सुविधालाई मौद्रिक नीतिको गैरपरम्परागत उपकरणका रूपमा मात्र प्रयोग गरिने गरी थप व्यवस्थित गरिएको राष्ट्र बैंकका अधिकारीहरूले दाबी गर्दै आएका छन् । यसरी पुनर्कर्जा दिँदा पनि कोषमा भएको रकम बराबर मात्र सुविधा दिन सकिने उनीहरूको तर्क छ । यसअघि पुनर्कर्जा कोषमा रहेको रकमको ४.१२ गुणासम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था थियो । हाल पुनर्कर्जा कोषमा करिब ५२ अर्ब रुपैयाँ छ ।
संशोधित कार्यविधिमा पुनर्कर्जा प्रवाह गर्दा प्रदेशगत सन्तुलन मिलाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन । ‘बैंक तथा वित्तीय संस्थाले प्रत्येक प्रदेशबाट कम्तीमा १० प्रतिशत ग्राहकको निवेदन पर्ने गरी तोकिएको ढाँचा र समयावधिमा निवेदन पेस गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘पुनर्कर्जा सुविधाको पहुँच अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थाले प्रत्येक प्रदेशबाट कम्तीमा १० प्रतिशत ऋणीले यो सुविधा उपयोग गर्न पाउने गरी निवेदन पेस गर्नुपर्नेछ ।’
नयाँ व्यवस्थाअनुसार पुनर्कर्जालाई ४ प्रकारमा वर्गीकरण गरिएको छ । यसअनुसार घरेलु तथा साना उद्योग, कृषि तथा उत्पादनशील क्षेत्र, निर्यात र प्राकृतिक प्रकोप तथा महामारी प्रभावित उद्योग व्यवसाय पुनर्कर्जा छन्  । यसअघि घरेलु तथा साना उद्योग, विशेष र साधारण पुनर्कर्जा गरी तीन प्रकारमा वर्गीकरण गरिएको थियो ।
राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदरसम्बन्धी व्यवस्था पनि परिमार्जन गरेको छ । ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रचलित बैंकदरभन्दा ३ प्रतिशत कम ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउनेछ,’ कार्यविधिमा भनिएको छ, ‘एकमुष्ट रूपमा प्रदान गरिने पुनर्कर्जाको हकमा राष्ट्र बैंकले लिने ब्याजदरमा बढीमा २ प्रतिशत बिन्दु थप गरेर सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणीसँग ब्याज लिन सक्नेछन् । ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा सम्बन्धित संस्थाले ऋणीसँग प्रचलित बैंकदरभन्दा बढी ब्याज लिन पाउने छैन ।’
यद्यपि अर्थविद्हरूले मुलुक अप्ठ्यारो अवस्थामा रहेको, लगानीकर्ताको मनोबल खस्किएको, पुँजीगत खर्च नबढेका बेला राष्ट्र बैंकले पुनर्कर्जामार्फत बजारमा पैसा पठाउनुपर्नेलगायत सुझाव दिँदै आएका छन् ।

 

Page 10
अर्थ वाणिज्य

'एआईले खस्कायो अनलाइन स्वतन्त्रता’

- कान्तिपुर संवाददाता

(काठमाडौं)
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित प्लाटफर्महरूको उपयोगिता र सुलभता बढ्दै जाँदा त्यसले सर्वसाधारणहरूलाई फाइदा पुगेको देखिए पनि विश्वका विभिन्न सरकारले यी प्रविधिलाई सूचना नियन्त्रण र विभिन्न प्रकारका सेन्सरसिपका लागि प्रयोग गर्न थालेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अमेरिकी संस्था फ्रिडम हाउसको हालै प्रकाशित रिपोर्टअनुसार लगातार १३ औं वर्षसम्म पनि इन्टरनेट स्वतन्त्रताको ग्राफ गिर्दो क्रममा छ ।
‘फ्रिडम अन द नेट २०२३ ः रिप्रेसिभ पावर अफ आर्टिफिसियल इन्टेलिजेन्स’ प्रतिवेदनमा पछिल्लो समय एआई प्रविधिले कतिपय अवस्थामा भ्रामक र मिथ्या सूचना फैलाउन सहयोगी भूमिका खेल्नुका साथै डिजिटल दमन गर्ने सरकारहरूको सामर्थ्य र कुशलता बढाउन मद्दत गरेको समेत दाबी छ । संस्थाले विश्वका ७० फरक राजनीतिक पृष्‍ठभूमि र शासन प्रणाली रहेका देशमा रहेका इन्टरनेट स्वतन्त्रका विभिन्न पक्षका आधारमा यो प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनमा सामेल भएका मध्ये इन्टरनेट बन्द गर्ने र विरोध प्रदर्शन नियन्त्रणका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेसमेतका कारण इरानमा इन्टरनेट स्वतन्त्रताको अवस्था सबैभन्दा द्रुत गतिमा खस्कँदै गएको उल्लेख छ । कुल ७० मध्ये ५५ देशका नागरिकले अनलाइनमा सेयर गरेका सामग्रीकै कारण मुद्दा र कानुनी कारबाहीको सामना गर्नुपरेको छ भने ४१ देशका सरकार सामाजिक, राजनीतिक र धार्मिक कारण देखाउँदै वेबसाइटहरू बन्द गर्ने कार्यमा औपचारिक रूपमै सामेल भएको पाइएको छ ।
अनलाइनमार्फत आफ्ना विचार व्यक्त गर्नेलाई कानुनी कारबाही गर्ने र सामाजिक, राजनीतिक वा धार्मिक कारण देखाउँदै वेबसाइट बन्द गर्ने दुवै अभ्यासमा चीन अग्रणी रहेको प्रतिवेदनमा भनिएको छ । ‘चीनले लगातार उल्लिखित दुवै अभ्यास गर्दै आएकाले लगातार नवौं वर्ष इन्टरनेट स्वतन्त्रतासम्बन्धी सूचीको सबैभन्दा पुछारमा रहने आफ्नो रेकर्ड जारी राखेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
इरानसँगै फिलिपिन्स, बेलारुस, कोस्टारिका, निकारागुआलगायत देशमा पनि इन्टरनेट स्वतन्त्रताको अवस्था गएको वर्ष निरन्तर खस्किएको प्रतिवेदनको निष्कर्ष छ । यस्तै इन्टरनेटका माध्यमबाट हुने वाक् स्वतन्त्रतामाथिको आक्रमण पनि गएको वर्ष उल्लेख्य बढेको देखिन्छ । म्यानमार र इरानसहित ४१ देशमा अनलाइनमा अभिव्यक्त आफ्ना धारणाकै कारण व्यक्ति तथा संस्थाहरूले कानुनी झन्झट तथा आक्रमण भोगेका रहेछन् । त्यति मात्र नभएर कतिपय अवस्थामा ज्यानसमेत गुमाएको उक्त अध्ययनले देखाएको छ ।
एआईको बढ्दो र सहज उपयोगिताले विभिन्न देशको सूचना र अभिव्यक्ति नियन्त्रण गर्ने प्रयासलाई झनै सहज बनाइदिएको पाइएको छ । ७० मध्ये २२ देशमा सरकारले कानुनी रूपमै आफ्नो सुविधा प्रतिकूल हुने प्लाटफर्महरूलाई अंशिक वा पूर्ण नियन्त्रण गरेको देखिन्छ । उनीहरूलाई आफ्ना नागरिकको अनलाइन गतिविधिमाथि नियन्त्रण र निगरानी गर्न पनि एआई र सामाजिक सञ्जालले सजिलो बनाउँदै लगेको अध्ययनमा भनिएको छ । एआईजस्ता प्रविधिको नियन्त्रित प्रयोग र दुरुपयोगबाट संसारका लोकतन्त्रले आगामी दिनमा अझै ठूला दबा‍बको सामना गर्नुपर्ने हुँदा नीति–निर्माताहरूले समयमै कदम चाल्नुपर्ने संस्थाको निष्कर्ष छ ।
दक्षिण एसियाली देशमध्ये अध्ययनले बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको इन्टरनेट स्वतन्त्रताको स्तर मूल्यांकन गरेको छ । सबैभन्दा कम स्वतन्त्रलाई शून्य र सबैभन्दा बढी स्वतन्त्रलाई १०० अंक दिइएकामा भारतको अंक ५० सहित आंशिक स्वतन्त्र भनिएको छ ।

अर्थ वाणिज्य

अर्थ संक्षेप

- कान्तिपुर संवाददाता


सानिमाका ग्राहकलाई तिलगंगामा छुट
काठमाडौं (कास)– सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टरमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकका भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् । साथै ग्राहकले पहिलो पटक आँखा जाँच्दा ५० रुपैयाँको परामर्श शुल्क मात्र लाग्नेछ ।
परिवर्तनका लागि युवाको आर्थिक मञ्च
काठमाडौं (कास)– परिवर्तनका लागि युवा समूहले बुधबार ‘युवा आर्थिक मञ्च २०८०’ कार्यक्रम आयोजना गर्दै छ । नेपाल पर्यटन बोर्डमा हुने कार्यक्रममा उद्योग क्षेत्र, वित्तीय प्रणाली र नवप्रवर्तनसम्बन्धी छलफल हुने आयोजकले जनाएको छ । विशेषतः युवा विद्यार्थीहरूलाई नेपालको अर्थतन्त्र र उद्यमशीलताबारे सचेत बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको परिवर्तनका लागि युवाका अध्यक्ष हिमाल विष्टले बताए । ‘युवाहरूलाई सशक्त बनाउन विभिन्न विषयमा बहस कार्यक्रम हुनुपर्छ,’ उनी भन्छन्, ‘बहस र छलफलका पर्याप्त कार्यक्रम नभएकाले हाम्रा नेताहरूले गलत कुरा बोलिरहेका हुन्छन् । हामी पोजेटिभ डिस्कोर्सहरू स्थापना गर्न चाहन्छौं ।’ युवा आर्थिक मञ्चमा ‘ड्राइभिङ इनोभेसन एन्ड ग्रोथ इन मोडर्न इन्डस्ट्रियल ल्यान्डस्केप’, ‘द न्यु एरा इन नेपाली फाइनान्सियल सिस्टम’ र ‘इन्नोभेटिभ बिजनेस माइन्ड्स इन नेपाली टेक’, सत्रहरूमा दीपेन्द्रबहादुर क्षेत्री, रेवत कार्की, सौरभ ज्योति, विदुषी राणा, शिक्षित भट्ट, राजीव सुब्बालगायत वक्ता छन् ।
सकियो किड्स एक्स्पो
काठमाडौं (कास)– आईएमएस ग्रुपले आयोजना गरेको किड्स एक्स्पो सम्पन्न भएको छ । शनिबार सकिएको एक्स्पोमा ३ हजारभन्दा बढी आगन्तुकको उपस्थिति रहेको आयोजकले जनाएको छ । रमाइला खेल, स्वादिष्ट खाना र बालबालिकाहरूका लागि दसैंको किनमेल गर्ने अवसरका साथै आफ्ना प्रियजनसँग दिगो सम्झना सिर्जना गर्ने मौका एक्स्पो बनेको आयोजकको दाबी छ । एक्स्पोमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय र राष्ट्रिय बेबी ब्रान्डको सहभागिता थियो ।

Page 11
खेलकुद

एपेक्स क्रिकेटमा ब्लुबर्ड च्याम्पियन

- कान्तिपुर संवाददाता

(काठमाडौं)
विपिन आचार्यको उत्कृष्ट बलिङपछि ब्लुबर्ड कलेजले एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगिता जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा ब्लुबर्डले फिनिक्स कलेजलाई ६ विकेटले हरायो ।
विपिनले ४ विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको फिनिक्स १८.३ ओभरमा ६२ रनमै अलआउट भयो । प्लेयर अफ द फाइनल विपिनले ३.३ ओभरमा १२ रन खर्चेर सानदार बलिङ गरेका थिए । अविनाश बस्यालले ४ ओभरमा १५ रन खर्चेर २ र सुवास खत्रीले १ विकेट लिए । फिनिक्सबाट सुशान्तसिंह थापाले ३८ बलमा १८, रवीन्द्र भुसालले ५ बलमा १२ र राजकुमार शाहले १४ बलमा ११ रन बनाए ।
प्रभात हाङखिमले अविजित ३१ रन बनाएपछि ब्लुबर्डले १७.२ ओभरमै लक्ष्य पूरा गर्‍यो । प्रभातले ५७ बल खेलेका थिए । सचिन लेखक ६ र निर्भिक पाठक ५ रनमा आउट भए । फिनिक्सका समिर विष्टले ४ ओभरमा १९ रन खर्चेर २ तथा क्रिस ऐर र राजकुमारले १–१ विकेट लिए ।
एपेक्स कलेजको आयोजनामा हब इन्टरनेसनलको प्रस्तुति रहेको १६ कलेज सहभागी प्रतियोगितामा सेन्ट जेभियर्स कलेजका रुपेश बस्याल
उत्कृष्ट ब्याटर र फिनिक्सका क्रिस ऐर उत्कृष्ट बलर बने । रुपेशले ४ खेलमा १ सय ३२ रन बनाए भने क्रिसले फाइनलमा सहित कुल १३ विकेट लिएका थिए । ६५ रन पनि बनाएका क्रिस प्लेयर अफ द सिरिजमा चुनिए ।
विजेता ब्लुबर्डले १ लाख ५० हजार र उपविजेता फिनिक्सले ७५ हजार रुपैयाँ पुरस्कार पाएका थिए । प्लेयर अफ द सिरिजलाई १५ हजार तथा उत्कृष्ट बलर र ब्याटरलाई १०–१० हजारसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । विजयी खेलाडीलाई एपेक्स कलेजका प्रमुख मिनेन्द्र रिजाल, हेड अफ स्ट्राजेटिक सन्देश कटुवाल, वाग्मती प्रदेश क्रिकेट संघका सचिव प्रशन्न शाक्य र हब इन्टरनेसनलका कार्यकारी निर्देशक उद्धवबहादुर खड्काले पुरस्कृत गरेका थिए ।

खेलकुद

कीर्तिमानी लक्ष्यमा पाकिस्तानको जित

- कान्तिपुर संवाददाता


हैदराबाद (एएफपी)– मोहम्मद रिजवान र अब्दुल्लाह सफिकले शतक बनाएपछि पाकिस्तानले विश्वकप क्रिकेटमा मंगलबार श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । रिजवानले अविजित १ सय ३१ र सफिकले १ सय १३ रन बनाएपछि पाकिस्तानले ३ सय ४५ रनको कीर्तिमान विजय लक्ष्य १० बलअघि पूरा गरेको थियो ।
पाकिस्तानले विश्वकपमा सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याउने कीर्तिमान बनाएको हो । आयरल्यान्डले भारतमै २०११ मै भएको विश्वकपमा यसअघि इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको विजय लक्ष्य पूरा गरेको थियो । अघिल्लो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको पाकिस्तानको यो लगातार दोस्रो जित हो । श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।
रिजवानले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाउनेक्रममा १ सय २१ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे । आफ्नो केवल पाँचौं एकदिवसीय खेल्दै गरेका सफिकले १ सय ३ बल खेली १० चौका र ३ छक्का प्रहार गरे । सफिकलाई फर्ममा नरहेका फाखर जमानको स्थानमा ल्याइएको थियो । श्रीलंकाबाट पनि यसअघि दुई शतक बनेको थियो । कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्का प्रहार गर्दै १ सय २२ र सदिरा समराविक्रमाले ८९ बलमा ११ चौका र २ छक्कासहित १ सय ८ रन बनाएपछि टस जितेको श्रीलंकाले ३४४–९ को स्कोर बनाएको थियो ।
धर्मशालामा दिनको अर्को खेलमा इंग्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो । पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटको लज्जास्पद हार बेहोरेको साबिक विजेता इंग्ल्यान्ड विजय लयमा फर्किएको हो ।
डेबिड मालनले १ सय ७ बलमा १ सय ४०, जो रुटले ६८ बलमा ८२ र जोनी बेरिस्टोले ५२ रन बनाएपछि इंग्ल्यान्डले ९ विकेट गुमाई ३ सय ४ रन बनायो । लिट्टोन दासले ६६ बलमा ७६ र मुसफिकर रहिमले ५१ रन बनाए पनि बंगलादेश ४८.२ ओभरमा २ सय २७ रनमा अलआउट भयो ।

Page 12
खेलकुद

नेपाली करातेको पुनर्जन्म

- हिमेश

(हाङचउ)
एरिका गुरुङ साह्रै हिस्सी परेकी छिन् । उत्तिकै मिजासिला पनि देखिन्छन् । नेपालका लागि रजत पदक जित्ने जत्तिको ऐतिहासिक सफलतापछि उनको अनुहारमा देखापरेको खुसी जस्ताको त्यस्तै छ । उनी भर्खर १९ वर्षकी भइन् ।
सायद नेपाली करातेका लागि कति धेरै गुन लगाएकी छन्, त्यो पनि उनलाई पत्तो छैन होला । यति साह्रो अबोध देखिन्छिन् । एउटा असल खेलाडीमा हुनुपर्ने गुण यस्तै न हो । भन्न कर लाग्छ, उनले १९ औं एसियाली खेलकुदमा जितेको रजत पदकले नेपाली कराते पुनर्जन्म हुनसक्ने स्थितिमा पुगेको छ ।
सायद नेपाली करातेका लागि पुनर्जन्म शब्द निकै बोझिलो हुनसक्छ । प्रश्न आउनसक्छ, नेपालमा असाध्यै धेरै लोकप्रिय र धेरैभन्दा धेरैले खेल्ने यो खेल कहिलो पो मृत्युको संघारमा पुगेको थियो र ? तर नेपाली करातेलाई नजिकबाट चिन्ने र मन पराउनेकै शब्द जस्ताको जस्तै सापटी लिने हो भने यो खेल मृत्युशय्यामा पुगेकै थियो । एरिनाले जहिलेदेखि कराते खेल्न सुरु गरेको थियो, त्यसको धेरै अगाडिदेखि नेपाली करातेमा समानान्तर संघको अस्तित्व थियो । कोही भन्ने गर्थे, एक खास कित्तालाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त छ ।
अर्कोथरि भन्ने गर्थे, ठीक विपरीत संघलाई सरकारी मान्यताप्राप्त छ । त्यसै पनि विश्व करातेमा कति धेरै चिरा छ कि त्यो बुझिनसक्नु छ । अझ त्यसमाथि नेपाली करातेमा गुट उपगुट, विवाद, आलोचना, आरोप, प्रत्यारोपभन्दा केही पनि थिएन । हुँदाहुँदा त विश्व कराते महासंघलाई तिर्नुपर्ने वार्षिक रकम समयमै तिर्न नसक्दा अन्तर्राष्ट्रिय सहभागितामै समेत अनेक प्रश्न उठेका थिए । सबैको दम्भ, घमण्ड छताछुल्ल भएको थियो । निचोडमा भन्दा नेपाली करातेमा कत्ति पनि राम्रो भइरहेको थिएन । स्थिति कस्तो बनेको थियो भने नेपाली करातेमा त्यो भन्दा अझ धेरै खराब हुने स्थिति नै थिएन । त्यो त त्यसअघि नै बनिसकेको थियो ।
यही बेला नेपाली करातेमा केही राम्रा समाचार पनि सुनिए । अब त नेपाली कराते महासंघ एउटै बनेको छ । यसको नेतृत्वमा छन्, युवराज लामा । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव समेत भइसकेका लामा पहिलो पुस्ताका नेपाली कराते खेलाडी मानिन्छ । परिषद्को नेतृत्वमा छँदा उनले राम्रै काम गरेका थिए । केही खास मोडमा उनले नैतिक मूल्य मान्यताका कोसेढुंगा साबित उदाहरण बनाए । देशको नेतृत्व गर्दै विदेश जाने लोभमा फसेनन् । अहिले यिनकै हातमा छ नेपाली कराते । उनले यो खेललाई फेरि एकपल्ट साँच्चै जीवन्त बनाउन सक्छन् ।
एरिकाले जितेको रजत पदक अहिले त्यही अवसरका लागि सबैभन्दा राम्रो बहाना बनेको छ । नेपाली कराते एक ढिक्का भएका बेला एरिकाको रजत पदक सञ्जीवनी बुटी बनेको छ । भनिन्छ, अझै नेपाली करातेमा धेरै चिरा छन् । अगाडि त होइन पछाडि, एकले अर्काको आलोचना गर्न छाडेका छैनन् । अब त लामा पनि पहिलेजस्तो रहेनन्, उनमा केही परिवर्तन आइसक्यो भन्नेहरू पनि छन् । आफ्नै कुरा मात्र सुन्न सुनाउनुपर्ने उनको समस्या छ भन्न थालेका छन् । यसको ज्वलन्त उदारहणका रूपमा उनले सामाजिक सञ्जालमा आफ्नै चेलाजस्ता दीपक श्रेष्ठसँग गरेको बाझाबाझ पनि हो ।
अध्यक्ष जत्तिको मान्छेले सामाजिक सञ्जालमा धेरै टिप्पणी गर्न निको मान्न सकिन्न । सबैलाई थाहा छ, दीपक नेपाली करातेमा धेरैले चिन्ने अनुहार हुन् । एसियाली खेलकुदमा उनीसँग जोडिएको विवाद हो, करातेका पूर्वखेलाडी तथा प्रशिक्षक भएर पनि उनी अर्कै खेलको व्यवस्थापक भई चीन पुग्नु । यसमा दीपकले नैतिक जिम्मेवारी लिर्नैपर्छ र सक्दो ठाउँमा गल्ती भएको मान्नुपर्छ । उनी त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन्, त्यसकै बैठकमा पनि उनले सके माफी माग्नुपर्छ । तर चीनमा नेपाली करातेका लागि उनको भूमिका वास्तवमै सकारात्मक रह्यो ।
उनले जसरी नेपाली कराते टिमलाई सक्दो सहयोग गरे, त्यसका लागि केही शब्द प्रशंसामा खर्च गर्नैपर्छ । उनी लगभग सबै खेलाडीका लागि दाइजस्तै थिए । प्रशिक्षक कुशल श्रेष्ठले पनि मज्जाले काम गरेर देखाए । उनमा पनि भलाद्मीपन पाइन्छ । अबको स्थिति हो, अध्यक्ष लामाले दीपकलाई आफ्नो शिष्य मानेर उनको टाउकोमा हात राख्ने अनि दीपक आफै पनि नेपाली करातेको सच्चा योद्धा बनेर अझ धेरै खट्ने । यसमा अब कसलाई समस्या हुनसक्छ ? यो त खासमा एउटा सानो उदाहरण मात्रै हो । यस्तो स्थिति धमाधम नेपाली करातेमा बन्ने हो भने कल्पना गरौं के मात्र हुन सक्दैन ।
एरिकाले चीनमा सिद्ध गरेकी छन्, नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय मञ्चमा धेरै गर्न सक्छन् । आखिरमा उनले त्यसै जापानी खेलाडीलाई हराएकी त होइनन् । नेपाली करातेलाई उनीजस्ता धेरै खेलाडी आवश्यक छ । युवा, एरिकाजस्तै अग्ली खेलाडी पनि । मज्जाले बाहिरी एक्सपोजर पाउने र घरमै नियमित प्रतियोगिता हुने हो भने नेपाली कराते वास्तवमै धेरै गर्न सक्छ ।
नेपाली करातेलाई अब एक ढिक्का भएर अगाडि बढ्नुबाहेक विकल्प छैन, फेरि अगाडि बढ्ने हो भने नेपाललाई कराते जत्तिको सुहाउने खेल अर्को कुन छ र ? कराते त हो, नेपाली खेलकुदलाई खास उचाइ दिनसक्ने खेल । यी सबै अनुभूति एकाएक गर्न प्रेरित गर्ने एरिकालाई अझ धेरै धन्यवाद र बधाई ।