मुख्य पृष्ठ
३३ किलो सुन तस्करीको प्रतिवेदन ५ वर्षदेखि 'गायब’
- मातृका दाहाल
(काठमाडौं)
सुन तस्करी प्रकरणमा राजनीतिक संलग्नता खोज्ने, संलग्नलाई कारबाहीको दायरामा ल्याउने तथा तस्करी रोक्न नीतिगत, प्रशासनिक र संरचनागत सुधारका लागि सुझाव दिन गठित ‘शक्तिशाली आयोग’ लाई नै सरकारले अघिल्ला प्रतिवेदनहरू लुकाएको छ । आशंकित व्यक्तिलाई पक्राउ नै गरेर अनुसन्धान गर्न सक्ने अधिकार दिई पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले ३३ किलो सुन तस्करीसँग सम्बन्धित ५ वर्षभन्दा अघिको प्रतिवेदन मागे पनि सरकारले नदिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलनाका हुँदै भित्रिएको तस्करीको सुन प्रकरणमा अध्ययन गर्न सरकारले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरेको थियो । हालको आयोगले पुराना प्रतिवेदनबारे सोधीखोजी गर्दा गृह मन्त्रालय र अन्तरसम्बन्धित निकाय आफूसँग नभएको भन्दै पन्छिएका छन् । तस्करीमा संलग्न भरियादेखि कारोबारीसम्मको नाम किटान गरिएको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले आयोगलाई समेत प्रतिवेदन नदिएपछि उक्त प्रकरण थप रहस्यमय भएको छ ।
तस्करले दुबईबाट भित्र्याएको ३३ किलो सुन गन्तव्यमा नपुग्दै गायब बनेपछि गोरे भनिने चूडामणि उप्रेतीको समूहले भरियाका रूपमा खटिएका सनम शाक्यको २०७४ फागुन १८ मा हत्या गरेको थियो । त्यसको १ महिनापछि चैत २० मा मन्त्रिपरिषद्ले शाक्यको हत्या, हराएको सुनको खोजी र तस्करीको नेटवर्क पत्ता लगाउन गृह मन्त्रालयका तत्कालीन योजना महाशाखा प्रमुख सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय ‘विशेष अनुसन्धान टोली’ गठन गरेको थियो ।
समितिले करिब ४ महिना लगाएर २०७५ साउन १६ मा ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाएको थियो । समिति गठन हुँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा थिए । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पौडेलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएका थिए ।
उच्च स्रोतका अनुसार समितिले प्रतिवेदनमा सुन तस्कर, भरिया र अवैध कारोबारमा संलग्न व्यापारीसम्मका २ सय ९२ जनाको नाम किटान गरेको छ । तर, त्यो सूची अझै गोप्य छ । समितिले त्यसबेला ७९ जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो । अनुसन्धानका नाममा सुरक्षाकर्मीमाथि पूर्वाग्रही साधेको भन्दै समितिकै प्रतिवेदनमाथि प्रश्न पनि उठेको थियो । तर, प्रतिवेदन उचित/अनुचित भन्नेमा सरकारले कुनै धारणा बाहिर ल्याएको छैन ।
त्यसरी किटान गरिएका व्यक्तिको संलग्नतामा ३८ क्विन्टल सुन भित्रिएको निष्कर्षसहित प्रहरी वा गृह मन्त्रालयले नै छुट्टै संयन्त्र बनाएर कसुरमा संलग्नमाथि थप अनुसन्धान/कारबाही गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको स्रोत बताउँछ । तर, सरकारले प्रतिवेदन सार्वजनिक नगरी ५ वर्षभन्दा अघिदेखि गुपचुप राखेको छ ।
प्रतिवेदन बुझ्दा प्रधानमन्त्री रहेका ओली हाल प्रमुख प्रतिपक्षी दल एमालेका नेता छन् । तत्कालीन गृहमन्त्री थापा एमालेकै उपाध्यक्ष र गृहसचिव प्रेमकुमार राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख छन् । समिति संयोजक पौडेल प्रतिवेदन बुझाएको केही समयपछि गृह मन्त्रालयबाट अध्यागमन विभागको महानिर्देशक हुँदै हाल भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतका रूपमा कार्यरत छन् । समितिका वरिष्ठतम् सदस्य हुतराज थापा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख छन् भने अर्का सदस्य वसन्त लामा एआईजीबाट अवकाशमा गइसकेका छन् । अरू सदस्य पनि कोही अवकाश त कोही बढुवा भएर अन्यत्रै पुगिसकेका छन् ।
ओली सरकारबाट हटेपछि शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वका दुइटा सरकार बनिसकेका छन् । तर, प्रतिवेदन सार्वजनिक गर्न कुनै पनि सरकारले चासो दिएका छैनन् । पछिल्लो सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग पहिलेको प्रतिवेदन माग्दा दुवैले आफूसँग नभएको भन्दै पन्छिएका छन् । आयोगका अध्यक्ष आचार्यले सरकारबाट प्रतिवेदन पाउन नसकेको बताए । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले भने मन्त्रालयसँग उक्त प्रतिवेदन अभिलेखमा नरहेको प्रतिक्रिया दिए । ‘सुनसम्बन्धी प्रतिवेदन मन्त्रालयको अभिलेखमा हेर्दा कतै भेटिएन । यही जानकारी आयोगलाई गराइसकेका
छौं,’ सचिव भट्टराईले भने, ‘समिति गठन मन्त्रिपरिषद्बाटै भएको र मन्त्रालयमा त्यस्तो प्रतिवेदन पेस पनि नभएकाले कहाँ छ भनेर भन्न सकिने अवस्था रहेन ।’
प्रतिवेदन बुझाएपछि त्यसको अध्ययन गरेका एक अधिकारी तस्करीमा किटान गरिएका व्यक्ति राजनीतिक, प्रशासनिक र सुरक्षा संयन्त्रसम्मै हिमचिम र पहुँच राख्ने भएकाले सरकारले सार्वजनिक नगरी लुकाएको हुन सक्ने बताउँछन् । ‘सुन तस्कर र अवैध सुनको कारोबार गर्नेहरू राजनीतिक, प्रशासनिक, सुरक्षा निकायका उच्च पदस्थसम्म सहज पहुँच राख्ने र तस्करी धन्दाबाट राज्य संयन्त्रमा बसेकाले नाजायज लाभ लिएको हुन सक्ने देखिन्छ, त्यही भयले सूची बाहिर नआएको आशंका छ,’ उनले भने ।
प्रतिवेदनमा दिइएका सुझावबारे स्रोतले भन्यो, ‘डमीमा राष्ट्र बैंकबाट खरिद गरेको अभिलेख देखाएर भित्रिभित्रै हुने अवैध धन्दाको सरकारले खोजबिन गर्नुपर्छ ।’ सुन समितिका तत्कालीन संयोजक पौडेलसँग भने सम्पर्क हुन सकेन । केही महिनाअघि उनले आफूले सरकारले दिएको जिम्मेवारी पूरा गरेर हिँडिसकेको र अहिले यसबारे बोल्न नमिल्ने बताएका थिए । उक्त प्रतिवेदन अध्ययनका लागि उपलब्ध गराउन पछिल्लो पटक गठित आयोगले सरकारसँग आग्रह गरेको थियो । तर, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय दुवै निकायले प्रतिवेदन आफूहरूसँग नभएको जवाफ दिएका छन् । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन नभएको जवाफ आएको बताए ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की तस्करीमा संलग्न व्यक्तिको नाम किटान गरिएको सुन समितिको प्रतिवेदन सार्वजनिक नगर्नुमा सरकारको नियत गलत रहेको बताउँछन् । राज्य संयन्त्रमा बसेका व्यक्तिको सुन तस्करीमा संलग्नसँग अनुचित हिमचिम र सम्बन्ध भएका कारण प्रतिवेदन सार्वजनिक नगरी लुकाइएको पनि हुन सक्ने कार्कीको आशंका छ । ‘प्रतिवेदन सार्वजनिक हुनुपर्छ । अपराधमा जो–जो संलग्न छन्, उनीहरूको नाम सरकारले सार्वजनिक गर्नैपर्छ । प्रतिवेदन भेटिएन भनेर उम्किने छुट सरकारलाई छैन,’ पूर्वन्यायाधीश कार्कीले भने, ‘सरकार पक्षका मान्छे नै सुन तस्करीमा संलग्न भएको आशंका छ । अनियमित काम गर्नेको विवरण बाहिर आउने भयले प्रतिवेदन लुकाइएको हुन सक्छ । तस्करीमा संलग्नको सूची बदनियत राखेर बनाइएको रहेछ भने त्यस्तो सूची बनाउनेमाथि कारबाही हुन्छ ।’
पछिल्लो पटक गठित जाँचबुझ आयोगलाई भेप र ब्रेक शुमा लुकाएर दुबई र हङकङबाट ल्याएको सुन प्रकरणको जाँचबुझ एवं सुन तस्करी नियन्त्रण गर्न संरचनागत, नीतिगत र भौतिक सुधारका लागि सुझाव दिने गरी कार्यदेश तोकिएको छ । तर, विगतका प्रतिवेदन सन्दर्भ सामग्रीका रूपमा अध्ययन माग गर्दा सरकारबाटै असहयोग भएको हो । करिब ७० केजी सुन प्रकरणको अनुसन्धान गर्ने क्रममा २०७९/८० को ११ महिनामा तस्करीले ३ सय ६३ केजी सुन विमानस्थलबाटै भित्र्याएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । ब्रेक शुमा भित्रिएको ६१ केजी मात्रै बरामद भएर बाँकी सुन गिरोहले फुत्काएको भेटिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले भेप र ब्रेक शु प्रकरणमा साढे ३ अर्बभन्दा बढी बिगो कायम गरेर जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा अहिले विचाराधीन छ । सीआईबीको अनुसन्धानलाई असर पुग्ने गरी सरकारले पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन गरेको थियो । तर, अभियुक्तसँग सोधपुछ र विभिन्न व्यक्तिसँग रायसुझाव लिनेबाहेक आयोगले ठोस काम गर्न सकेको छैन ।
मुख्य पृष्ठ
'एनसेललाई सरकारी स्वामित्वमा ल्याउन कानुन संशोधन गर’
- सजना बराल
(काठमाडौं)
निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल खरिद–बिक्रीमा अनियमितता र अपारदर्शिताको आशंका भइरहेका बेला प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कानुन संशोधनको मुद्दा अघि बढाएको छ ।
अनुमतिपत्रको म्याद २०८६ सालमा सकिनेबित्तिकै सरकारमातहत ल्याउने सुनिश्चितताका लागि विद्यमान दूरसञ्चार ऐन र नियमावलीलाई यथाशीघ्र संशोधन गर्न उक्त समितिले सरकारलाई निर्देशन दिएको छ । एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया सम्बन्धमा उठेका सवालमा सरकारका तर्फबाट भएका पहलबारे छलफल गर्न मंगलबार आयोजित समितिको बैठकमा उपस्थित प्रधानमन्त्री, विभागीयमन्त्री, नियामक निकायहरू समक्ष सांसदहरूले छानबिन समितिको औचित्य, नियामकको गतिविधि, कानुनी छिद्रलगायत विषयमा प्रश्न उठाएका थिए ।
अहिलेको खरिद–बिक्री कम्पनीलाई सरकारी स्वामित्वमा ल्याउन नदिने प्रयास भएको निष्कर्ष निकाल्दै त्यसका लागि कानुन संशोधन गर्नुपर्ने निर्देशन दिइएको हो । समितिको निर्णयमा ‘२०८६ सालमा एनसेल नेपाल सरकारको स्वामित्वमा
ल्याउन पहल गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना
प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक कानुन र नियम संशोधन गर्न
निर्देशन दिने’ भनिएको छ । उक्त निर्देशन एनसेलको हालका लगानीकर्ताविरुद्ध कठोर देखिएको बताइएको छ ।
अनियमितता तथा अपारदर्शी काम गरिरहेका लगानीकर्ताहरूले यो निर्देशन कार्यान्वयनमा बाधा सिर्जना गर्न सक्ने दूरसञ्चार विज्ञहरूको अनुमान छ । तर समितिका सभापति रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिले यो निर्देशन कार्यान्वयन गराएरै छाड्ने दाबी गरेका छन् ।
‘राज्य व्यवस्था समिति मुलुकको समग्र सुशासन कायम गर्न बनेको संसदीय समिति हो । संसद्बाटै बनेको सरकारले समितिको यो निर्देशन पालना गर्नेछ भन्ने विश्वास छ,’ खतिवडाले भने, ‘०७४ पछि पहिलो पटक प्रधानमन्त्री संसदीय समितिमा उपस्थित भएर समितिको निर्देशन लागू गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यदि भएन भने समितिले हेरेर बस्दैन । कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट योजनाका साथ निर्देशन दिएका छौं ।’
दूरसञ्चार ऐन–२०५३ को दफा १५ मा दूरसञ्चार कम्पनीको अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने भनिएको छ । एनसेलले २०६१ भदौ १६ मा अनुमति पाएको थियो, जुन २०८६ भदौ १५ मा २५ वर्ष पुग्नेछ । ऐनको दफा ३३ मा ‘जम्मा पुँजी लगानीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको भएका दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्र अवधि समाप्त भएपछि सरकारको स्वामित्वमा आउने’ व्यवस्था छ, जुन व्यवस्थाले एनसेल ६ वर्षमा नेपाल सरकारको स्वामित्वमा आउने देखिन्छ । तर, दफा ३३ को उपदफा ४ मा थप भनिएको छ, ‘जम्मा पुँजी लगानीको ५० प्रतिशतसम्म विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित कम्पनीको अनुमतिपत्र समाप्त भएपछि पूर्वअनुमति प्राप्त व्यक्तिले पुनः अनुमति लिई सञ्चालन गर्न सक्नेछ ।’
हालै एनसेलको ८० प्रतिशत सेयर खरिद गरेका सतिशलाल आचार्यले अबका दिनमा यही कानुनी छिद्रको प्रयोग गरी कुनै पनि बेला आफ्नो सेयर श्रीमती भावनासिंह श्रेष्ठको नाम वा कम्पनी, कुनै अरू नेपाली कम्पनी वा सेयर बजारबाट ५० प्रतिशत बढी स्वामित्व कायम गराएर सरकारी स्वामित्वमा जानबाट रोक्ने अनुमान लगाइएको छ । त्यसो भएमा देशको सम्पत्तिका रूपमा रहेको एनसेल कम्पनी र यसको फ्रिक्वेन्सी २५ वर्षपछि पनि सरकारको हुनबाट रोकिनेछ । यही हुन नदिन कानुन संशोधन गरिनुपर्ने निर्देशन समितिले दिएको हो, जुन एनसेलविरुद्ध कठोर हुने जानकारहरूले अनौपचारिक प्रतिक्रिया दिएका छन् ।
अर्कोतर्फ समितिले एनसेलजस्ता ठूला कम्पनी खरिद–बिक्री गर्दा खरिदकर्ताको क्षमता, कम्पनी चलाएको अनुभव भए/नभएको जाँच गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ । एनसेल खरिदकर्ता कम्पनी क्षमता र दूरसञ्चार क्षेत्रको अनुभवविहीन कम्पनी हो । साढे दुई महिनाअघि मात्रै एक डलरमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको हो । उक्त कम्पनी नेपाली मूलका सिंगापुरवासी सतिशलाल आचार्यका नाममा गत सेप्टेम्बर २६ मा दर्ता गरिएको छ । एनसेलको २० प्रतिशत सेयरको स्थानीय साझेदार पनि सतिशलालकै श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालि रहेको छ । दुवै दूरसञ्चार क्षेत्रमा काम गरेका कम्पनी होइनन् ।
साथै, समितिले सरकारका तालुक निकायलाई उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म एनसेलको सेयर कारोबारमा कुनै पनि स्वीकृति वा सहमति नदिन भनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिद–बिक्री हेर्ने सरकारी नियामक निकायहरू हुँदाहुँदै किन छुट्टै छानबिनका समिति बनाइयो भनेर प्रश्न गरेका थिए । उनले दूरसञ्चार ऐनमा आवश्यक संशोधन गरेर एनसेलजस्ता कम्पनीको ऐतिहासिक रूपमा विवादित हुँदै आएका कारोबारलाई पारदर्शी बनाउने र निगरानीको दायरामा ल्याउने गरी संसद्ले पहल गर्नुपर्ने सुझाव दिए । नेपाल सरकारबाट बनाइएको एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदनका आधारमा कानुनबमोजिम बुझाउनुपर्ने कर/गैरकर रकम असुलउपर गर्ने व्यवस्थाका लागि समेत समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलका विषयमा सरकारले चालेका कदमको पछिल्लो विवरण अवगत गराएका थिए ।
मन्त्री शर्माका अनुसार दूरसञ्चार ऐन २०५३ मा थुप्रै कानुनी छिद्र रहेको र कानुन बनाउँदा पछिल्लो अवस्थाको परिकल्पना नभएकाले हाल संशोधनका लागि प्रक्रिया अगाडि बढाइएको छ । ‘अहिलेको टेलिकम क्षेत्रको आवश्यकताअनुसार हाम्रो ऐन जतिसक्दो छिटो संशोधन गर्नॅपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘यसका लागि सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको छ । ऐन संशोधनको मस्यौदा निर्माण कार्य अगाडि बढाएका छौं ।’ तर कानुनी छिद्र देखिएको दफाको सन्दर्भमा भने के गर्ने स्पष्ट खुलाइनन् । दूरसञ्चार क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने र त्यस्तो लगानीलाई पारदर्शी बनाउने गरी ऐन निर्माण हुने उनले बताइन् ।
बैठकमा सांसदहरूले एनसेलको सेयर स्वामित्व खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्री दाहालकै परिवार यसमा संलग्न छ कि छैन भनी प्रश्न गरेका थिए । कांग्रेस सांसद अम्बिका बस्नेतले एनसेल खरिद–बिक्रीमा नेताको परिवार जोडिएको कुरा सार्वजनिक भइरहेकाले त्यस तहबाट पनि वास्तविकता बाहिर आउनुपर्ने बताइन् । ‘यो प्रकरण नेताको परिवारसँग जोडिएको विषयमा कति सत्यता होला ?’ उनको प्रश्न थियो ।
प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिद–बिक्रीका क्रममा विदेशमा भएका गतिविधि कानुनविपरीत पाइए हदैसम्मको कारबाही हुने प्रतिबद्धता जनाएका छन् । ‘छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम चाल्नेछ, एनसेल खरिद–बिक्रीमा कहीँ न कहीँ केही न केही भएको शंका लागेकाले नै छानबिन गरिएको हो,’ उनले भने, ‘दोषी भए हदैसम्म कारबाही हुन्छ ।’ प्रधानमन्त्री दाहालले एनसेल खरिद–बिक्रीमा जोडिएका व्यक्ति आफू, कांग्रेस सभापति शेरबहदुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत चिनजानका भए पनि उनको गडबडीले छुट नपाउने प्रतिबद्धता पनि जनाए ।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘बेलायतमा रातारात कम्पनी खडा गरेर एनसेल किन्ने व्यक्तिलाई राम्रोसँग चिन्छु,’ उनले भने, ‘सिंगापुरमा श्रीमती बिरामी भएका बेला उनकोमा दुई दिन बसेको छु । देउवाजी र ओलीजी पनि जानुभएको छ । तर चिने–जानेको छ भन्ने हिसाबले अनुहार हेरेर व्यवहार गरिँदैन ।’ एनसेल खरिद–बिक्रीको छानबिनमा नियामक निकायको अधिकारमा हस्तक्षेप नगरिएको पनि उनले बताए ।
एनसेल खरिद प्रक्रियामा राजस्व छलीको आशंकासहित वैदेशिक लगानीको विषय जोडिएकाले छानबिन समिति आवश्यक परेको उनको भनाइ थियो । यसले नियामक दूरसञ्चार प्राधिकरणको नियामकीय अधिकारमा कुनै हस्तक्षेप र प्रभाव नपर्ने र नियामकले आफ्नो अधिकार कानुनतः पूरा गर्ने बताए । प्रधानमन्त्री दाहालले यस प्रकरणमा छोरी गंगालाई जोडेर भइरहेका नकारात्मक प्रचारको खण्डन गर्दै यो लोकतन्त्र र गणतन्त्रमाथिकै हमला भएको समेत टिप्पणी गरे । प्रधानमन्त्री दाहालले भने, ‘यो संविधान सिस्टम र लोकतन्त्र गणतन्त्रमाथिको हमला हो । प्रचण्डलाई नराम्रोसँग ह्युमिलिएट नगरेसम्म र डिप्रेस नबनाएसम्म यो नउल्टिने भयो भन्ने धेरैलाई छ ।’ उनले आफ्नो कुनै गडबडी नरहेकाले यस्ता कुराले आफूलाई केही प्रभाव नपार्ने उनले बताए ।
एमालेकै सांसद रघुजी पन्तले छानबिन समितिका संयोजक टंकमणि शर्मा दंगालमाथि प्रश्न गर्दै उनी महालेखा परीक्षक भएका बेला तयार प्रतिवेदनमा विवरण हटाएर एनसेलको पक्षमा काम गरेको हुँदा अहिले उनैलाई छानबिन समिति संयोजक बनाउनु गलत रहेको बताए । ‘यसलाई डिजल्भ गरेर न्यायिक समिति गठन गरियोस्,’ भने, ‘छानबिन समितिमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्यो । टंकमणि महालेखा परीक्षक हुँदा एनसेललाई छुट दिएको भन्ने सार्वजनिक रूपमा प्रश्न उठिसकेको थियो ।’
रास्वपाकी सांसद चन्दा कार्की भण्डारीले आजियटाजस्तो ठूलो कम्पनी नेपालमा लगानीको वातावरण छैन भन्दै बाहिरिएको अवस्थालाई सरकारले गम्भीरतापूर्वक किन नलिएको भन्ने प्रश्न गरिन् । एमालेका सांसद बलराम अधिकारीले नियामक निकायहरू सक्षम नै रहेको अवस्थामा प्रधानमन्त्रीले छानबिन समिति गठन गरेकामा विमति राखे । अदालत, छानबिन समिति र संसदीय निकायहरूबीच एनसेल सेयर खरिद–बिक्री प्रकरणबारे भइरहेको व्यस्तताका बीच नियामक नेपाल दूरसञ्चार प्राधिकरणले खरिद–बिक्री सम्झौतासम्बन्धी कागजात तुरुन्त उपलब्ध नगराए एनसेललाई अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ । सोमबार प्राधिकरणले एनसेललाई तेस्रो पत्र पठाउँदै कारबाही गर्नेबारे अवगत गराएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘हामीले सेयर खरिद–बिक्री सम्झौतासहित अन्य कारोबारबारे सम्पूर्ण कागजपत्र उपलब्ध गराउन भनेका थियौं,’ अध्यक्ष खनालले भने, ‘दुइटा पत्र पठाउँदासमेत उपलब्ध नभएपछि हिजो (सोमबार) पुनः निर्देशन दिएका थियौं ।’
प्राधिकरणले यसअघि मंसिर १४ मा खरिद–बिक्रीबारे वास्तविकता बुझ्न पत्र पठाएको थियो । एनसेलले कागजपत्र संकलन हुनासाथ उपलब्ध गराउने भन्दै जवाफी पत्र पठाए पनि हालसम्म कुनै दस्ताबेज प्राप्त नभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बताएकी थिइन् । एनसेल प्रकरणबारे अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन समितिसँगै संसदीय समितिहरूले नियामक प्राधिकरणलाई सेयर खरिद–बिक्री सम्झौतालगायत विषयका कागजपत्र उपलब्ध गराउन भनिरहेका छन् ।
प्राधिकरणले मंसिर २५ मा एनसेललाई दोस्रो पत्र पठाई कागजपत्रका विषयमा प्राधिकरणले पुनः ताकेता गरेको थियो । सेयर खरिद–बिक्री घोषणा गरेको तीन साता भइसक्दा पनि एनसेलले नेपाल सरकार र नियामकलाई कुनै औपचारिक जानकारी गराएको छैन । नियामकले पटक–पटक पठाएको पत्रलाई बेवास्ता गरेको भन्दै प्राधिकरणले सोमबार भने कडा कारबाही गर्ने व्यहोरासहितको पत्र एनसेललाई पठाएको हो । दूरसञ्चार ऐन २०५३ को दफा २८ मा अनुमति प्राप्त व्यक्तिले ऐन वा नियममा उल्लिखित सर्तविपरीत कुनै काम गरेमा प्राधिकरणले निश्चित अवधि तोकी सुधारको मौका दिने र सुधार नगरेमा अनुमतिपत्र खारेज गर्न सक्ने व्यवस्था छ ।
प्राधिकरणको सो पत्रको जवाफमा एनसेलले बुधबारसम्ममा औपचारिक जानकारी र कागजपत्रहरू उपलब्ध गराउने मौखिक आश्वासन दिएको प्राधिकरणका अध्यक्ष खनालले कान्तिपुरलाई बताए । ‘उहाँहरूले कागजपत्र आइपुग्यो, पेस गर्छौं भन्नुभएको छ,’ खनालले भने, ‘बुधबार पेस गर्ने भन्नुभएको छ, हेरौं के हुन्छ ।’ एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको मलेसियाको आजियटा बर्हाद समूहले मंसिर १३ मा आफ्नो स्वामित्वको सेयर बिक्रीका लागि राखिएको घोषणा गरेको थियो । नेपालमा दूरसञ्चार व्यवसायमा बढ्दो चुनौतीलाई कारण देखाउँदै आफूले सो निर्णय लिएको आजियटाको दाबी थियो । आजियटाले मंसिर १४ मा आफ्नो स्वामित्वको सेयर बेलायतको स्पेक्ट्रलाइट यूकेलाई ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गरेको सार्वजनिक गर्यो ।
मुख्य पृष्ठ
छोरीको जन्मदर्ता गरे ५ हजार
- सन्जु पौडेल
(लुम्बिनी)
रूपन्देही कोटहीमाई–४ बैरघाटकी सुधा चाईले गत वर्ष गाउँपालिकाबाट ५ हजार रुपैयाँ पाइन् । २०७९ पुस ११ मा छोरी विद्यान्सी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराएपछि उनलाई पालिकाले उक्त रकम दिएको हो । ‘वडा कार्यालयमा जन्मदर्ता गरेपछि पालिकाले रकम उपलब्ध गराएको हो,’ उनले भनिन्, ‘पालिकाले दिएको रकम छोरीकै नाममा खाता खोलेर जम्मा गरिदिन बचाएर राखेका छौं ।’
सुधाका श्रीमान् भारतको पन्जावमा काम गर्छन् । दोस्रो सन्तान पनि छोरी जन्मिएपछि श्रीमान्ले आर्थिक बोझ बढ्ने भन्दै मानसिक तनाव दिएका बेला गाउँपालिकाले पैसा दिएपछि राहत मिलेको उनले बताइन् ।
कोटहीमाई–२ तुलसीपुरमा बस्ने शिवचन्द पासीले पनि छोरी हर्षिताको वडा कार्यालयमा जन्मदर्ता गराएपछि ५ हजार रुपैयाँ पाए । उक्त पैसाले छोरी स्याहार्न चाहिने सामान किनेको उनले बताए । गाउँपालिकाले यस्तै सहयोग दिइरहे छोरीलाई पढाएर शिक्षक बनाउने उनको सोच छ । गाउँपालिकाले गत वर्षदेखि ‘बालिका जन्म प्रोत्साहन भत्ता’ कार्यक्रम अन्तर्गत छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउने परिवारलाई ५ हजार रुपैयाँ दिन सुरु गरेको थियो । उक्त योजना चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।
गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले समाजमा छोरालाई मात्र महत्व दिने मानसिकता कम गर्न यो योजना ल्याइएको बताए । ‘छोरी जन्मेपछि दुःख मात्र दिने वा जन्मनै नदिने (भ्रूण हत्या) गर्ने परिपाटीलाई पनि कम गर्न सकिन्छ कि भनेर कार्यक्रम चलाएका छौं,’ त्रिपाठीले भने, ‘आगामी वर्ष पनि निरन्तरता दिने योजना छ ।’
कार्यक्रमका लागि गत वर्ष विनियोजित १५ लाखमध्ये २ सय २१ जनालाई ११ लाख ५ हजार
वितरण गरिएको पालिकाका लेखा अधिकृत निरञ्जन ज्ञवालीले बताए । ‘यस वर्ष ८ लाख छुट्याइएको
छ,’ उनले भने, ‘यसभन्दा धेरै आवश्यक परे कार्यपालिकाबाट पारित गरेर लागू गरिनेछ ।’ एक आर्थिक वर्षमा पालिकाभरि जन्म हुने हरेक छोरीले ५ हजार रुपैयाँ पाउने भएकाले ३५ दिनभित्र जन्मदर्ता गराइसक्नुपर्ने प्रावधान राखिएको छ । साउनयता २० जनाको निवेदन प्राप्त भएको छ ।
गाउँपालिकाकी सामाजिक शाखा प्रमुख सरिता केसीले कार्यक्रम लागू भएपश्चात छोरीलाई घरपरिवारमा पनि सम्मान दिन थालिएको बताइन् । ‘यसले छोरीको नागरिकता बनाउन, विवाह दर्ता गर्न समेत सघाउँछ,’ उनले भनिन्, ‘यसले मधेसका सबै समुदायमा छोरीलाई पनि छोरासरह व्यवहार गर भन्ने सन्देश गएको छ ।’